content
stringlengths 20
64.1k
⌀ |
---|
बालविवाह अन्त्यका लागि रणनीतिक योजना बन्दै सुर्खेत। मुगुमा बालविवाह अन्त्यका लागि पहल सुरु भएको छ। छायानाथ रारा नगरपालिकाले बालविवाह अन्त्यका लागि रणनीति योजना बनाउन लागेको छ। मेयर विष्णुकुमार भामले १४ वडामध्ये ४, ५, ६, ३, १०, ११, १३, १४ मा बालविवाह बढी भएको पाइएको बताए।
सबै वडामा नगरपालिकाले बालविवाह अन्त्यका लागि योजना बनाइ कार्यक्रम लागू गर्ने उनले जनाए। बालविवाह न्यूनिकरण गर्दै पुरै नगरमा अन्त्यसम्म गर्नका लागि रणनीतिक योजना बनान मस्यौदा समिति बनाउन लागिएको छ।
योजनामा कार्यक्रम, लागत, लक्ष्य, उपलब्धी, स्रोतको सुनिश्चता, जिम्मेवार निकाय, जिम्मेवार व्यक्ति, सूचकहरु समेटन लागिएको छ। सोही रणनीतिक योजनाले प्रस्ताव गरेको बजेट सुनिश्चिताको लागि काम भइरहेको छ। हिउँदे अधिवेशनमा बालविवाह अन्त्यका लागि रणनीतिक योजना बनाउने निर्णय पारित गराउने पनि नगरप्रमुख भामले बताए। |
लुम्बिनी प्रदेशः राजधानी कार्यान्वयन मुख्य उपलब्धि तुलसीपुर। लुम्बिनी प्रदेशको पहिलो कार्यकालमा स्थायी राजधानी कार्यान्वयनलाई मुख्य उपलब्धिका रूपमा लिइएको छ। लुम्निबी प्रदेश सरकारका प्रवक्ता तिलकराम शर्माका अनुसार स्थायी राजधानी राप्ती उपत्यका (भालुवाङ)मा तोक्नुका साथै सोही स्थानबाट काम सुरु गर्नु नै पाँचवर्षे कार्यकालको मुख्य उपलब्धि भएको बताए।
लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय देउखुरीबाट सञ्चालनमा आएको छ भने अन्य मन्त्रालयका लागि संरचना खोजीको काम भइरहेको छ। त्यस्तै प्रदेशसभा पनि देउखुरीमै निर्माण भएको नयाँ भवनबाट सञ्चालन थालिएको छ। अघिल्लो कार्यकालको यो उपलब्धि हो। “हामीले आफ्नै प्रदेशसभा भवन निर्माण गर्यौँ”, उनले भने, “मुख्यमन्त्री कार्यालय पनि आयो, अन्य मन्त्रालय पनि अब आउँदैछन्।”
साथै प्रदेशसभाको पहिलो कार्यकालमा ७२ विधेयक पारित भई ऐनका रूपमा प्रमाणीकरण भएका छन् भने सरकारले ३० नियमावली पारित गरी कार्यान्वयन गरिरहेको छ। साथै विकास निर्माणका हिसाबले पनि प्रदेशमा फड्को मारिएको प्रवक्ता शर्माले बताए। उनका अनुसार पाँच वर्षमा सात सय ४९ किलोमिटर सडक कालोपत्र भएको छ भने नौ सय ८८ किलोमिटर सडक ग्राभेल तथा चार सय ३५ किलोमिटर सडकको नयाँ ट्रयाक खोलिएको छ। त्यस्तै ७४ वटा सडक पुल र २३ वटा झोलुङ्गे पुल निर्माण भएका छन्।
उनका अनुसार तीन हजार दुई सय ९८ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याइएको, छ सय आठवटा स्याले ट्युबेल, एक हजार आठ सय पाँचवटा सिँचाइ कुलो निर्माण गरिएको छ। त्यस्तै एक सय २२ किलोमिटर लम्बाइमा नदी नियन्त्रणको कार्य भएको छ। यसबाट दुई हजार एक सय १५ हेक्टर जमिन नदीबाट उकास भएको छ।
प्रदेश सरकारले ११ हजार एक सय ४७ वटा लिफ्ट खानेपानी आयोजना र एक हजार दुई सय ३१ वटा खानेपानीका आरसिसी ट्याङ्की निर्माण गरेको छ। त्यस्तै एक हजार सात सय १७ किलोमिटर ट्रान्समिसन पाइप लाइन जडान भएको, चार हजार आठ सय ७२ किलोमिटर डिस्ट्रिब्युसन पाइप जडान भएको छ। प्रदेश सरकारले सात हजार एक सय ६१ कमैया, मुस्लिम र दलित छात्रालाई छात्रबृत्ति, तीन हजार आठ सय ८७ विज्ञान विषय अध्ययनरत छात्रालाई छात्रबृत्ति प्रदान गरेको जनाएको छ।
तत्कालीन जनयुद्धका घाइते तथा अपाङ्गता भएका व्यक्तिको उपचारको व्यवस्था गर्नुका साथै मुटु, मिर्गौला र क्यान्सरपीडित विपन्न नागरिकको उपचारका लागि रु दुई लाख दिने कार्यक्रमबाट छ सयभन्दा बढी नागरिक लाभान्वित भएका छन्।
त्यस्तै चारवटा यातायात सेवा कार्यालय स्थापना गरी सेवाप्रवाह गरिरहेको, चार स्थनमा सवारी यात्रु र चलकका लागि रिफ्रेस सेन्टरको निर्माण गरेको, कृषिलाई आधुनिकीकरण गर्नका लागि एक सय नौवटा कृषि स्मार्ट गाउँको निर्माण गरिएको, १९ वटा शीतभण्डार, १९ वटा खाद्यान्न भण्डार, १० वटा बीउ भण्डारणगृह निर्माण गरिएको छ। प्रदेश सरकारले गौरवका आयोजनाका रूपमा अघि सारेको लुम्बिनी प्राविधिक विश्वविद्यालय बाँकेमा स्थापना भई सञ्चालनको तयारीमा रहेको छ। |
गाउँपालिका अध्यक्ष घर्तीलाई तीन वर्ष कैद फैसला गलकाेट। बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीलाई लागुऔषध कारोबारमा सोमबार तीन वर्ष छ महिना कैद फैसाला भएको छ।
बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाका अध्यक्ष घर्तीमाथि लागेको लागुऔषधसम्बन्धी कसुर ठहर गर्दै बागलुङ जिल्ला अदालतका न्यायाधीश डा दिवाकर भट्टको इजलासले तीन वर्ष छ महिना कैद सहित रु ५० हजार जरिवाना फैसाला गरेको जिल्ला अदालतका सूचना अधिकारी सूर्यप्रसाद भण्डारीले जानकारी दिए।
निसीखोला-६ को वडाध्यक्ष हुँदा विसं २०७७ असार १२ गते ८० केजी गाँजासहित आफ्नै घरबाट पक्राउ परेका घर्तीमाथि लागेको लागु्औषध गाँजा/चरेससम्बन्धी कसुर २०७९ पुस ३ गते ठहर भएको थियो। सोमबार जिल्ला अदालत बागलुङका न्यायाधीश डा भट्टको इजलासले घर्तीमाथि लागेको कसुर ठहर गर्दै सजाय निर्धारणको गरेको हो।
इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीको नेतृत्वमा खटिएको टोलीले घर्तीलाई तत्कालीन अवस्थामा घरबाटै पक्राउ गरेको थियो। बुर्तिवाङ बजारमा गाँजा खाने युवालाई समात्ने क्रममा ‘सप्लाई’ गर्ने व्यक्तिको खोजी गर्दै जाँदा प्रहरी घर्तीसम्म पुगेको थियो।
तत्कालीन वडाध्यक्षघर्तीको घरबाट बरामद भएको गाँजा धुलो पारिएको अवस्थामा भेटिएको थियो। जिल्ला प्रहरी कार्यालय बागलुङले अनुसन्धान गरी २०७७ भदौ ४ गते जिल्ला अदालत बागलुङमा लागुऔषध गाँजा/चरेस नियन्त्रण ऐन, २०३३ सम्बन्धी मुद्दा दर्ता भएको थियो।
फैसलाको पूर्णपाठ आउन बाँकी रहेको सूचना अधिकारी भण्डारीले जानकारी दिए। रासस |
यसपालिको भूकम्प सुरक्षा दिवस काठमाडौँ महानगरमा मनाउने निर्णय काठमाडौं । यसपालिको २५औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको मूल समारोह काठमाडौँ महानगरपालिकामा गर्ने निर्णय भएको छ । आज गृहमन्त्रालयमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको अध्यक्षतामा बसेको २५औँ भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको बैठकले उक्त निर्णय गरेको हो ।
यसअघि ललितपुर महानगरपालिकामा दिवस मनाइएको थियो भने त्यसको अघिल्लो वर्ष भक्तपुरमा गरिएको थियो । यसपटक दिवस मूल समारोह समितिको सभापति काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह रहने र प्रमुख अतिथिका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आग्रह गर्ने निर्णय पनि भएको छ ।
प्रधानमन्त्रीको समय लिनका लागि बैठकले गृहमन्त्री लामिछानेलाई जिम्मेवारी दिएको छ । बैठकमा प्रस्तावित यसपालिको नारामाथि आएका सुझावहरूको आधारमा गृहमन्त्रालयले अन्तिम नारा तय गर्ने भएको छ । बैठकमा तीनवटा नारा प्रस्तावित गरिएको थियो ।
यसैगरी सङ्घ, प्रदेश, जिल्ला प्रशासन कार्यालयहरू, स्थानीय तहहरूलाई समेत दिवस मनाउन पत्राचार गर्ने निर्णय पनि बैठकले गरेको छ । बैठकमा आफ्ना धारणा राख्ने क्रममा अधिकांशले भूकम्पबारे आम सर्वसाधारणलाई सचेत गराउन र यसको जोखिमबारे गम्भीर बन्न वर्षैपिच्छे कुनै एक दिन सन्दर्भ पारेर सिमुलेसन अभ्यास (ड्रिल) को कार्यक्रम राख्नुपर्ने सुझाव दिएका थिए ।
बैठकमा गृहमन्त्री लामिछानेले ‘नेपालमा भूकम्प सुरक्षा दिवस : विसं २०५५ देखि २०७८ सालसम्मका विषयगत प्राथमिकताहरू’ नामक पुस्तकसमेत सार्वजनिक गरेका थिए । विसं १९९० माघ २ गते नेपालमा आएको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि प्रत्येक वर्ष माघ २ गते राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै आएको छ । |
आँखाको शल्यक्रिया अब गाउँमै भोजपुर । आर्थिक अवस्थाका कारण ग्रामीण क्षेत्रका नागरिकलाई सुविधा सम्पन्न अस्पतालमा गएर उपचार गराउन समस्या हुने गरेको छ । गाउँघरमा नै सञ्चालन हुने शिविर उनीहरुका लागि वरदान सावित हुने गरेको छ ।
भोजपुरको दक्षिण आमचोक गाउँपालिकाको केन्द्र बालङखामा नेपाल नेत्र ज्योति सङ्घ आँखा तथा कान उपचार केन्द्रले दुई दिने आँखा जाँच तथा शल्यक्रिया शिविर सञ्चालन गर्यो । सो शिविरमा ४२ जनाले आँखाको शल्यक्रिया गराए । उनीहरुले वर्षोंदेखिको समस्या गाउँमै समाधान भएकामा खुसीसमेत व्यक्त गरे । चौरासी वर्षीया पवित्रा विष्टले आँँखामा देखिएको समस्या समाधानका लागि शल्यक्रिया गराए ।
गाउँमै उपचार पाएपछि उनले भने, “धेरै वर्ष भएको थियो आँखामा समस्या देखिएको, आर्थिक अवस्थाका कारण बाहिर गएर उपचार गराउन पनि पाएको थिइन, तर अहिले गाउँमै उपचार पाएर स्पष्ट आँखा देख्ने भएको छु ।” उनी मात्र होइन सोही शिविरमा स्थानीय ८६ वर्षका रामबहादुर विकले पनि शल्यक्रिया गराए । उनी पनि वृद्ध उमेरमा आँखा स्पष्ट देख्न पाएकामा खुसी छन् ।
ग्रामीण भेगमा बसोबास गर्ने नागरिक सामान्य आँखा जाँच गर्ने सुविधासमेत नहँुदा वषांैदेखि सास्ती खेप्न बाध्य छन् । आँखामा समस्या आए पनि कतिपयले त अन्यत्र अस्पतालमा जान झण्झट र आर्थिक समस्याले रोगसँग लडिरहने गरेको नेपाल नेत्र ज्योति सङ्घ आँखा तथा कान उपचार केन्द्रका प्रमुख विजय तामाङले बताए ।
आमचोकका ८२ वर्षीय गोरमान राई आँखामा समस्या हुँदाहुँदै पनि अस्पताल आउनजान र आर्थिक अभावले समस्यासँग जुँधिरहेका थिए तर शिविर नै गाउँमा आएपछि स्पष्ट आँखा देख्ने भएका छन् ।
गाउँमा सञ्चालन भएको शिविरले गरिब, विपन्न, अशक्त, बालबालिकालाई ठूलो राहत मिलेको छ । “गाउँमा धेरैजसो न्यून आयस्तर भएका नागरिक, गरिब, विपन्नको बसोबास हुन्छ, उनीहरुलाई स्वास्थ्यमा समस्या आएपछि उपचार गराउन आर्थिक अभावले गर्दा रोगसँग दिनहुँ लडेर बसिरहन बाध्य छन्, यस शिविरले गाउँका नागरिकलाई धेरै फाइदा पुगेको छ”, सङ्घका संस्थापक जिल्ला सभापति तेज मोक्तानले भने ।
नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै पालिकासँग समन्वय गरी आँखा शिविर सञ्चालन हँुदै आएको मोक्तानले जानकारी दिए । दक्षिण आमचोक गाउँपालिकाको केन्द्र बालखामा सञ्चालन भएको दुईदिने आँखा शिविरमा चार सयले उपचार पाएका छन् ।
दातृ संस्था सिविएमको सहयोग तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो । शिविरमा विराटनगर आँखा अस्पतालका नेत्र विशेषज्ञ डा सुमित मिश्र लगायतको टोलीले शल्यक्रिया गरेको थियो । शिविर हतुवागढी गाउँपालिकाको केन्द्र घोरेटारमा पनि आजदेखि सुरु भएको छ । |
कोरोना जोखिम बढेपछि झुलाघाट नाकामा कडाइ बैतडी । कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएकाले भारतसँग सीमा जोडिएको झुलाघाट नाकामा कडाइ गरिएको छ । छिमेकी देश चीन र भारतमा कोरोना सङ्क्रमण फेरि देखिन थालेपछि नाकामा कडाइ गरिएको हो ।
झुलाघाटमा ‘हेल्थ डेस्क’ स्थापना गरेर भारतबाट फर्किरहेका नागरिकमा कोरोना परीक्षणको काम भइरहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए । उनले भने, “झुलाघाट नाकाबाट स्वदेश फर्कने नागरिकको सीमामै कोरोना परीक्षण गर्ने गरेका छौँ, स्वदेश फर्किने नागरिकले उनीहरुले खोप पाए÷नपाएका बारे यकिन गर्ने काम पनि भइरहेको छ ।”
भारतबाट स्वदेश फर्कने नागरिकले खोप नलगाएको भएमा सीमा नाकामै कोरोनाविरुद्धको खोप लगाउने व्यवस्था गर्ने तयारी गरिएको जनाइएको छ । उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले पनि आग्रह गरेको छ ।
कोरोनाको जोखिम कम गर्न भौतिक दूरी व्यवस्थापन गर्नुपर्ने, भीडभाड भएका ठाउँमा नजान र जानै परे स्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरिएको छ । यसका साथै यसअघि लगाउन छुटेका सबैलाई खोप लगाउन प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले आग्रह गरेका छन् । |
मधेस प्रदेश : प्रदेशसभा सभामुखको निर्वाचन माघ २ मा जनकपुर । मधेस प्रदेशसभा सभामुखको निर्वाचन आगामी माघ २ गतेका लागि तोकिएको छ । नवनिर्वाचित प्रदेशसभाको आजको पहिलो बैठकमा सभाअध्यक्ष गोविन्दबहादुर न्यौपानेले आगामी माघ २ गते सभामुखका लागि निर्वाचन हुने जानकारी दिए । उनले पुस २९ गते सभामुखको निर्वाचन कार्यक्रमसम्बन्धी सूचना प्रकाशन गर्न प्रदेशसभा सचिव रञ्जितकुमार यादवलाई निर्देशन दिए ।
बैठकले प्रदेशसभा कार्यसञ्चालन नियमावली २०७५ अनुमोदन गर्नुका साथै नियमावलीको नियम ११ बमोजिम सभामुख र उपसभामुखको अनुपस्थितिमा अध्यक्षता गर्ने सदस्यको मनोनयन गरेको प्रदेशसभा सचिव रञ्जितकुमार यादवले जानकारी दिए । मनोनित सदस्यहरुमा सांसदहरु रेखा ठाकुर, बच्चा राउत अहिर, चन्दनकुमार सिंह, जितेन्द्रप्रसाद सोनार, फकिरा महतो र रत्नेश्वर गोइत रहेका छन् ।
सभालाई प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउत, पूर्वसभामुख सरोजकुमार यादव र अधिवेशन प्रारम्भ भएको अवसरमा विभिन्न दलका १४ जना प्रदेशसभा सदस्यले मन्तव्य व्यक्त गरेका थिए । त्यस अवसरमा मुख्यमन्त्री लालबाबु राउतले संविधानको कार्यान्वयन र सङ्घीयताको संस्थागत विकासका लागि सत्तापक्ष र प्रतिपक्ष नभनी सबै एकजुट हुनुपर्ने बताए । उनले सङ्घीयतालाई बोझको रुपमा चित्रित गर्दै यसलाई बोक्न सकिन्न भन्नेहरुका विरुद्ध मधेस प्रदेशका सबै दलले एकताबद्ध भएर जवाफ दिनुपर्ने धारणा राखे ।
पूर्वसभामुख यादवले अघिल्लो प्रदेशसभाको अन्तिम अधिवेशन हतारमा अन्त्य गरेकाले आफूले धन्यवादसम्म भन्न नपाएको गुनासो गर्दै आगामी दिनमा दलहरुको सहमतिमा मात्रै अधिवेशनको आह्वान र अन्त्य हुनुपर्ने बताए । उनले अघिल्लो सरकारले जनताको पक्षमा गर्न नसकेका काम आगामी सरकारले पूरा गर्ने विश्वास व्यक्त गरे ।
सभामा मन्तव्य राख्नुहुने अधिकांश सांसदहरुले सङ्घीयता, लोकतन्त्र र संविधानको रक्षा गर्दै मधेश प्रदेशका आवश्यकता पूर्ति र विद्यमान समस्याको समाधान गर्न पार्टीभन्दा माथि उठेर सहकार्य गर्नुपर्ने धारणा राखेका थिए । सभामा प्रदेशसभा सदस्य राजकुमार लेखी, कृष्णप्रसाद यादव, राजकुमार गुप्ता, वसन्तप्रसाद कुशवाह, जितेन्द्रप्रसाद सोनार, युवराज भट्टराई, बेची लुङ्गेली, कञ्चन बिच्छा, बिमला अन्सारी तरन्नुम, उर्मिलादेवी सिंह, अनिरुद्धकुमार सिंह, केशव राय, प्रमोदकुमार जयसवाल, र सुनिताकुमारी साहले सम्बोधन गरेका थिए । प्रदेशसभाको अर्को बैठक आगामी माघ २ गते बस्ने छ । |
विपत् जोखिम न्युनिकरणको सुरुवात मन्त्रालयबाटै गर्न गृहमन्त्रीको निर्देशन काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले विपत् जोखिम न्युनिकरणको सुरुवात मन्त्रालयबाटै गर्न निर्देशन दिएका छन् ।
सोमबार सिंहदरबारमा २५ औं भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको बैठकलाई सम्बोधन गर्दै लामिछानेले भूकम्प आइहाले मन्त्रालयबाट तुरुन्तै निस्कन सक्ने गरि आपतकालीन ढोकाको व्यवस्था गर्न निर्देशन दिएका हुन् । उनले विपत जोखिम न्युनिकरणको बहस धेरै हुने भएपनि कार्यान्वयनको तहमा सन्तोषजनक अवस्था नरहेकाले त्यसको सुरुवात मन्त्रालयबाटै गर्न खोजिएको जिकिर गरे ।
लामिछानेले स्कुल, कलेज, पार्टी प्यालेश जस्ता हलमा क्षमता संख्या देख्ने गरि लेख्नुपर्ने र आपतकालीन ढोका लगाएत सुरक्षा कवजलाई ध्यान दिने गरि काम गर्नुपर्ने समेत बताए । क्षमताभन्दा धेरै मानिस जम्मा गर्ने र मापदण्ड पालना भए नभएको निरन्तर अनुगमन गर्नुपर्नेमा उहाले जोड दिए । लामिछानेले २०७२ को भूकम्पपछि पनि पूर्वतयारी अर्थपूर्ण हुन नसकेको धारणा राखे । जोखिम न्युनिकरणका लागि ऐन कानून अप्रयाप्त भए त्यसलाई सच्चाउन आफु तयार रहेको र कार्यक्रम भन्दा पनि कामलाई बढि प्राथमिकता दिएर अघि बढ्नुपर्ने उनको भनाइ छ ।
बैठकले माघ २ गते भूकम्प सुरक्षा दिवस विभिन्न सचेतनामूलक कार्यक्रमहरू गरी मनाउने निर्णय गरेको छ त्यसका लागि संघ, प्रदेश, जिल्ला प्रशासन कार्यालयहरू र स्थानीय तहहरूलाई दिवस मनाउनका लागि पत्राचार गर्ने र क्रियाकलापहरू राष्ट्रिय कार्यक्रममा समावेश गर्न पुस २६ गतेभित्र आह्वान गर्ने निर्णय पनि गरेको छ । बिक्रम सम्वत २०५५ साल मंसिर ७ गते बसेको मन्त्रीपरिषद् बैठकले प्रत्येक बर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउने निर्णय गरेको थियो । |
चिसोले जम्न थाले मनाङका नदीनाला मनाङ । यस वर्ष मनाङमा हिमपात नभए पनि अत्यधिक चिसो बढेको छ । चिसोले गर्दा यहाँका तालतलैया, शाखा नदी, सिँचाइ कुलो, घरका धारा र सेफ्टी ट्याङ्की क्रमशः जम्न थालेका छन् ।
चिसोले यहाँको दैनिकीमा प्रतिकूल असर परेको छ । हिउँदयाममा चिसोका कारण ङिस्याङ गाउँपालिका–९ तिलिचो ताल, गङ्गापूर्ण ताल, आइस लेक, पोङ्कर, ड्रोनालगायतका तालतलैया पूर्णरुपमा जमेका छन् ।
समुद्री सतहदेखि चार हजार नौ सय १९ मिटर उचाइमा रहेको तिलिचो ताल चार दशमलव आठ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचोमा अहिले पानी जमेको छ । अहिले मस्र्याङ्दी नदीको पानी जमेको छ ।
यसैगरी चिसोका कारण शाखा नदी बरफ बनेका छन् । “घरका धारा र सेफ्टी ट्याङ्की पानी जम्दा यहाँको जनजीवन कष्टकर बनेको छ”, प्रमुख जिल्ला अधिकारी सुप्रभा ढुङ्गेल खनालले भनिन्, “चिसो सिरेटोले बाहिर निसक्न मुस्किल भएको छ, स्थानीय आगो बालेर घरभित्र बस्ने गरेका छन् ।”
उनका अनुसार खानेपानीका धारा जम्दा स्थानीयले कुलोको बरफ भएको पानी तताएर दैनिक प्रयोजनमा उपयोग गर्ने गरेका छन् । चालु वर्षको पुसको आधा बितिसक्दासमेत हिउँ परेको छैन । यद्यपि हिमपात नभए पनि माथिल्लो मनाङमा बिहान र बेलुकीको तापक्रम माइनस २० डिग्रीसम्म पुग्ने गरेको बताइएको छ ।
चिसोकै कारण माथिल्लो मनाङका नागरिक निर्वाचन सकाएर जाडो छल्न बँेसी झरिसकेका छन् । मनाङका सामुदायिक तथा गुम्बा विद्यालय पनि घुम्तीका लागि बेँसी झरेका छन् । अत्यधिक चिसोले गर्दा पशुचौपाय र गोठालालाई समेत सास्ती खेप्नुपरेको छ । तल्लो मनाङ अर्थात् चामेमा पनि बिहान र बेलुकीको तापक्रम माइनस १० डिग्रीसम्म पुग्ने गरेको छ ।
चिसोले स्थानीय नागरिक घरबाहिर निस्कन सक्दैनन् । मनाङका शैक्षिक संस्थाले जाडो बिदा दिएको र विद्यार्थी अभिभावकसँगै चिसो छल्न बाहिर गएका छन् । विकास निर्माणका काम पूरै चिसोले प्रभावित बनेका छन् । कर्मचारी पनि सदरमुकाममा सीमित रहेका छन् । |
अफ्रिकन स्वाइन फिवरले चितवनमा दुई हजार सात सय बढी बङ्गुर मरे चितवन । जिल्लामा पशुपालक किसानका दुई हजार सात सय ४२ बङ्गुर अफ्रिकन स्वाइन फिवरका कारण मरेका छन् । यसबाट रु पाँच करोड ८९ लाख ८५ हजारको क्षति भएको छ । यहाँका नौ वटा कृषि फर्ममा रहेका बङ्गुर मरेका हुन । रोगले एक सय ८७ वटा बङ्गुर अझै बिरामी छन् ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र भरतपुरका सूचना अधिकारी डा प्रभात न्यौपानेका अनुसार एक हजार आठ सय ११ वयस्क र नौ सय ३१ पाठापाठी बङ्गुर छन् । यस्तै बिरामी परेकामध्ये एक सय २८ वयस्क र ५९ पाठापाठी रहेको कार्यालयले जनाएको छ ।
अफ्रिकन स्वाइन फिवर घरपालुवा सुङ्गुर, बँदेल, बङ्गुर प्रजातिमा भाइरसबाट लाग्ने उच्च मृत्यु दर भएको अति खतरनाक सरुवा रोग हो । यो रोग नेपालमा पहिलो पटक विसं २०७९ साल जेठ २ गते पुष्टि भएको हो । रोग सङ्क्रमित सुङ्गुर बङ्गुरबीच प्रत्यक्ष सम्पर्कबाट, रोगी बङ्गुरको ¥याल, मलमूत्र, रगत, मासु र लसपस भएको दानापानीबाट, बिरामी बङ्गुरको ओसारपसार वा किनबेच गर्दा, सङ्क्रमण खोरमा काम गर्ने कामदार र सङ्क्रमित खोरमा गएको मानिसले प्रयोग गरेको लुगाकपडा, जुत्ता चप्पल आदि प्रयोग गर्दा सर्न सक्ने न्यौपानेले जानकारी दिए ।
यो रोग लागेका बङ्गुर एकै ठाउँमा थुप्रिएर बस्ने, शरीरमा निला डाम देखा पर्ने, कानका टुप्पामा रगत जमेका धब्बा देखिने, नाकबाट फिँज निकाल्ने, रोग सङ्क्रमित सुङ्गुर बङ्गुरलाई उच्च ज्वरो (१०४ देखि १०७ डिग्री फरेनहाइट) आउने, कान, पुच्छर, पेटको तल्लो भागको बाहिरी छाला रातो हुने, झोक्राउने र दानापानी खान छोड्ने, बान्ता गर्ने, छटपटाउने, चाल धरमराउने, बच्चा तुहिने जस्ता लक्षण देखा पर्ने केन्द्रले जनाएको छ ।
यो रोगबाट बच्न बङ्गुरपालन गर्दा खोरमा थुनेर पाल्ने, बङ्गुरको खोरमा अनावश्यक मानिसको आवतजावत रोक्ने, बङ्गुर फार्ममा जैविक सुरक्षाविधि अवलम्बन गर्ने जस्ता उपाय अपनाउनुपर्ने कार्यालयले जनाएको छ । बाहिरको बथानबाट नयाँ बङ्गुर ल्याएमा सिधैँ फार्ममा रहेका बङ्गुरसँग नमिसाई २१ दिन क्वारेन्टाइनमा राख्ने र रोग नदेखिएपछि मात्र बथानमा मिसाउने, बङ्गुरको खोर फार्म र फार्म वरिपरी नियमित सरसफाइ गरी चुना, फिनेल, फर्मालिन, ब्लिचिङ पाउडर आदिले निःसङ्क्रमण गर्ने, रोग लागेका बङ्गुरलाई बथानबाट छुट्याएर अलग राख्ने जस्ता कार्य गर्दा क्षति कम हुने न्यौपानेको भनाइ छ । |
नेपाली दूतावास भित्रै समाजका अगुवा कुटिए, एनआरएनए अध्यक्षमाथि कुटपिटको आरोप दोहा । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारको दशौं अधिवेशनको विषयलाई लिएर नेपाली राजदूतावास दोहा कतारको हलमा भएको एक कार्यक्रममा जनप्रगतिशील मञ्च कतारका अध्यक्ष बुद्धि भण्डारी र शनी कुमार ओली कुटिएका छन् ।
एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानको नेतृत्वमा आफूमाथि कुटपिट भएको भण्डारीले आरोप लगाएका छन् । भण्डारीको कानको जाली फुटेको कतारको हमाद हस्पिटलको रिपोर्टले देखाएको छ ।
बैठकमा एनआरएनए राष्ट्रिय समन्वय परिषद् कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले संस्थाको विधान विपरितको निर्णयमा हस्ताक्षर गराउन बल प्रयोग गरेको र नमान्दा कुटपिट गरेको भण्डारीले आरोप लगाएका छन् ।
भण्डारीको दाबी अनुसार अध्यक्ष मुसलमानले नरेश श्रेष्ठ, अब्दुल रहमान, राम बहादुर हमाल लगायतका व्यक्तिहरूलाई बैठक कक्षमा प्रवेश गराइ कुटपिट गरेका थिए ।
यस विषयमा नेपाली जनप्रगतिशील मञ्च कतारका अध्यक्ष बुद्धिप्रसाद भण्डारी, नेपाली जनसम्पर्क समिति कतारका मुख्य सल्लाहकार शंकरप्रसाद न्यौपाने, प्रवासी नेपाली मञ्च कतारका अध्यक्ष प्रभात त्रिपाठीले नेपालको गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, नेपाली राजदूतावास कतार र एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदमा उजुरी दिएका छन् ।
दोहाको नेपाली समाजमा घटेको यो पहिलो घटाना भने होईन। यसअघी पनि प्रवासी नेपाली मञ्च कतारका अध्यक्ष प्रभात त्रिपाठी, संस्थापक अध्यक्ष कमलमणी गुरागाँई र खेमराज सुवेदी माथि हातपात र गाली-गलौज भएको थियो। |
मन नेपालमा, रोजीरोटी प्रवासमा भारत। “हाम्रो मन मातृभूमि नेपालमै पुगिरहेको हुन्छ तर कामका सिलसिलामा आइएकाले बसोबास र रोजीरोटी यतै गर्नुपरेको छ । प्रवासमा रहेर नेपाल आमालाई पुकार्दै जीवन गुजारिरहेका छौँ ।” पश्चिम बङ्गालको कोलकाता–बेहलास्थित परिवहन (ट्रान्सपोर्ट) सम्बन्धी व्यवसाय गर्दै आएका तनहुँका केशव अधिकारी क्षेत्रीलाई नेपाल र नेपालीको प्रसंग आउनेबित्तिकै भावनाको गहिराइमा पुगेको अनुभूति हुन्छ।
सानो छँदा तनहुँको मिर्लुङस्थित चन्द्रावती खोलामा साथीसङ्गीसँग खेलेको र नुहाएकोदेखि अनेक स्मरणहरु उनका मानसपलटमा ताजा भएर आउने गर्छ । उनी प्रवासमा रहँदा वा जुनसुकै मुलुकमा पुग्दा नेपालको परिचय नलुकाई व्यक्त गर्ने गर्दछन्। अहिले उक्त खोलामा पक्की पुल बनेर सतिश्वरा र मिर्लुङ जोडिएका जस्ता प्रगतिका कुराले प्रवासमा रहँदा पनि क्षेत्रीको छाती गर्वले फुल्ने गर्छ।
यहाँका राइपाली भञ्याङ, बयापानी भञ्याङ, मिर्लुङकोट, छहरे, ठुलढुङ्गा आदि स्थलहरूलाई थप पर्यटकीय बनाउन के गर्न सकिन्छ भन्ने चासो उनलाई बरोबर भइरहन्छ। ‘देशभक्ति त मर्दैन, चुत्थै देश भए पनि’ नाट्यसम्राट बालकृष्ण समले भनेझैँ विकसित मुलुक भारतमा रहे पनि प्रवासी नेपालीलाई नेपालप्रतिको माया र सम्मानमा कुनै कमी आएको देखिँदैन ।
राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मस्थल चुँदी रम्घासमेत रहेको भानु नगरपालिका–१३ मा जन्मिएका क्षेत्री चार दशकदेखि प्रवासमा रहे पनि हरेक कूलदेवता पूजा र बडादसैँमा सकेसम्म परिवारसहित लामो यात्रा तय गरेर गृहजिल्ला तनहुँमा आउने गर्छन्।
‘के लजिष्टिक्स्’ र ‘क्षेत्री इन्टरप्राइजेज’ का सञ्चालक क्षेत्रीले गत साता बेहलास्थित कम्पनीको कार्यालयमा रासससँगको भेटमा आफ्ना नेपालप्रेमी भावना यसरी पोखे, “नेपालीबीच जहाँ रहे पनि आपसमा प्रेम र सामूहिक भाव छ । प्रवासमा हुने सामाजिक क्रियाकलापले यहाँका नेपालीबीच अझ बढी भाइचारा हुने गरेको छ। नेपालबाट कोही पाहुना आउँदा हामीलाई भगवान् आएजस्तो लाग्छ । यता बसेर पनि देशको विकासको चासो गरिहरहन्छौँ । राजनीतिक अस्थिरता र भ्रष्टाचारका कुराले मनै अमिलो बनाउने गर्छ । नेताहरुले यो दर्द बुझेर देश विकासको काम गरिदिए हुन्थ्यो ।”
नेपाली कांग्रेसको राजनीतिमा पनि संलग्न क्षेत्री यहाँस्थित विभिन्न सामाजिक गतिविधिमा अगुवाइ गर्न पछि पर्दैनन्। हरेक बडादसैँका अवसरमा नवरात्र सुरु भएदेखि नै गोरखनाथ सेवा समितिको आयोजनामा पूजाआजा गरिने कार्यक्रम हुँदै आएको छ।
सांस्कृतिक परम्पराको निरन्तरताका साथै उनीहरुको देशभक्ति हरेक क्षणमा प्रकट भइरहेको हुन्छ। गत वर्ष सेवा समिति स्थापनाको ५० औँ वर्ष भएकाले एसएन बेनर्जी रोड, न्यू मार्केट नजिक पशुपतिनाथको अस्थायी मन्दिर बनाएर नेपालीशैलीमा दुर्गा भगवतीको मूर्ति स्थापना गरेर समाजका सबै समुदायलाई पूजा गर्ने र हेर्ने प्रबन्ध गरिनु त्यसैको एक ज्वलन्त उदाहरण हो ।
यहाँ नेपाली जनकल्याण समिति, कोलकोताले मनाउने भानु जयन्तीका कार्यक्रम, साहित्यिक पत्रिका प्रकाशनदेखि नेपालीभाषी र प्रवासी नेपालाई आपत्विपत् पर्दा क्षेत्रीसहितको व्यावसायिक समूहले आर्थिकलगायत सहयोग गर्दै आएको छ। गोर्खा भूकम्पका समयमा प्रवासी नेपालीको समन्वयमा नेपालमा रु ५२ लाख बराबरको सहयोग पठाइएको थियो भने मेलम्ची बाढीपीडितका लागि रु छ लाख प्रदान गरिएको थियो।
अहिले पनि उपचार नपाएर प्रवासमा भौँतारिएका र बेरोजगार भएर गुजारा चलाउन मुस्किल पर्ने नेपालीका लागि प्रवासी नेपाली संस्था र व्यावसायिक व्यक्तिहरूको समूहले सामाजिक सञ्जालकै सूचनाका भरमा आवश्यक प्रबन्ध र सहयोग जुटाउँदै आएको छ।कोलकोतामा नेपालीभाषीहरू चौकीदारी, सरकारी सेवा, अनौपचारिक श्रम, पारवहन, होटल व्यवसाय, गहनासम्बन्धी व्यवसायदेखि चिकित्सा, इन्जिनियरिङ पेसामा समेत संलग्न छन्।
व्यवसायी क्षेत्रीकै संयोजकत्वमा ‘संयुक्त नेपाली वेलफेयर ट्रष्ट’ले न्यू विवेकानन्द पार्क रोडको महेशतलास्थित बेहालामा करिब भारु ३० लाखको लागतमा पशुपतिनाथको स्थायी मन्दिर बनाउन जग्गा किनेर निर्माणकार्य सुरु गरिएको छ भने यहाँ भारत–नेपाल सांस्कृतिक भवन बनाउन पहल गर्ने लक्ष्य लिएको छ।भारत–नेपाल सांस्कृतिक भवन बनाउन अत्यन्त आवश्यक भएको यो भवन बनेमा दुवै देशलाई लाभ हुने भएकाले यसको निर्माणमा दुवै देशका सरकारले सहयोग गर्नुपर्ने नेपालीभाषीहरूको आग्रह रहेको छ ।
भारत सरकारले नेशनल रजिष्ट्रर सिटिजन्स (एनआरसी) लागू गरेपछि विगतमा जस्तो प्रवासी नेपालीले सहजरूपमा पेसा– व्यवसाय गर्न नपाउने हो कि भन्ने चिन्ता पैदा भएको छ। दोहोरो नागरिकता लिएर दुवै मुलुकमा पेसा–व्यवसाय गर्ने सवालमा यदाकदा कानुनी समस्या र झन्झट आइलाग्ने गरेका छन् ।
भारत–नेपाल जनमैत्री सांस्कृतिक मञ्चका अध्यक्ष खिमराज बराल सन् १८१६ मा नेपाल र तत्कालीन ‘इष्ट इन्डिया कम्पनी’बीच भएको सुगौली सन्धिका प्रावधानबमोजिम नेपालीले सहजताका साथ भारतमा पेसा व्यवसाय गर्न पाउने बताउँदै यसबारे सार्वजनिकरूपमा दुवै देशका सरकारी र जनस्तरका तहमा र अहिलेका पुस्तालाई पनि जानकारी नभएमा कसैले अनावश्यक दुःख खेप्नु नपर्ने धारणा राख्छन्।
उनले उक्त सन्धिको मर्मअनुसार प्रवासी नेपालीले सहजताका साथ यहाँ पेसा व्यवसाय गर्न पाउनुपर्ने सवालमा आफूहरुले सहजीकरण गर्दै आएको र कोलकातामा एक ‘भारत–नेपाल सांस्कृतिक भवन’ निर्माणको लक्ष्यलाई सार्थक बनाउन लागिपरेको सुनाए।
प्रवासी नेपालीले कोलकोताको कुनै सडकलाई आदिकवि भानुभक्त आचार्यको नामाकरण गराउन यहाँको प्रदेश सरकारलाई सहमत पनि गराइसकेका छन्। यहाँ नेपालीभाषी र बङ्गाली भाषी समुदायबीच आत्मियता र प्रेमभावका साथ जनस्तरमा सम्बन्ध पनि जोडिएको छ। उनीहरु आपसमा एकाकार भएर सामाजिक गतिविधिमा जोडिने गर्ने गरेका छन् ।
प्रवासी नेपाली संघ, भारतका केन्द्रीय अध्यक्ष एवं भारत–नेपाल जनमैत्री मञ्च, कोलकाताका संस्थापक अध्यक्ष साहित्यकार नारायणप्रसाद होमगाईँ नेपालबाट यहाँ आएर काम गर्ने र बसोबास गर्नेहरु अधिकांश प्रवासी नेपाली रहेको र उनीहरुको मूलथलो नेपाल नै भएको स्पष्ट पारे।
एक निजी कम्पनीको वरिष्ठ लेखा अधिकृतबाट अवकाशप्राप्त उाले दार्जिलिङ र सिक्किमतिर बढी मात्रामा नेपालीभाषी भारतीय भए पनि कोलकातामा प्रवासी नेपाली धेरै रहेको जनाउँदै प्रवासी सङ्गठनहरुबीच कुनै प्रकारको राजनीतिक खिचातानी नभई आपसी सद्भाव र एकता होस् भन्नेमा सचेत रहेको जनाए। उनले आफूहरुले विगतमा जस्तो दुई देशबीचका राजनीतिक मुद्धामा माग उठाउने र विवाद गर्नेजस्ता काम पनि अब नगर्ने स्पष्ट पार्दै भाषा र संस्कृतिलाई राजनीतिक सीमाले नबाँध्ने बताए।
अध्यक्ष होमगाईँले नेपाल जाँदा भारु २५ हजार मात्र लान पाइने, भारतको एटिएम कार्ड नेपालका बैंकमा नचल्नेजस्ता व्यवहारिक समस्या औँल्याउँदै हालै नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को औपचारिक भारत भ्रमणका अवसरमा दुई देशका प्रधानमन्त्रीबीच नयाँदिल्लीमा सझदारीपत्रमा हस्ताक्षर भएबमोजिम सीमापार विद्युतीय कारोबार (क्रस बोर्डर डिजिटल ट्रान्जेक्सन)को छिटो कार्यान्वयनमा जोड दिए।
बडाबजारस्थित ‘मेटल फिनिसिङ’ व्यवसाय गर्दै आएका प्रवासी नेपाली चन्द्रबहादुर श्रेष्ठ आफूले हालसम्म ६०–७० जना नेपालीलाई यता ल्याएर रोजगारी र व्यवसायमा लगाएको, सीपमूलक तालिम दिलाएको र आनन्दमय जीवनयापनका उपायबारे उत्प्रेरणा पनि दिने गरेको बताउँछन्।
“नेपालमा काम नपाएर वा अभिभावकलाई दुःख दिएर बसेका कोही युवाहरू छन् यहाँ आउन चाहेमा हामी सीप विकाससहित आदत सुधार गराइदिन सक्छौँ। हामीले हाम्रो पालामा निकै ससंघर्ष गरेका छौँ। अबको बाँकी जीवन नेपाल र नेपाली तथा मानव कल्याणका लागि दिन तयार छौैँ”, पुख्र्यौली घर रामेछाप भएका श्रेष्ठले भने।
नेपाली जनकल्याण समितिका प्रमुख सल्लाहकार एवं साहित्यकार धर्मराज बराल प्रवासी नेपाली र नेपालीभाषी भारतीय दुवै देशका सांस्कृतिक सहचरी भएकाले उनीहरूको भावनाको सम्मान गर्दै सामाजिक कार्यमा प्रोत्साहन गर्नुपर्नेमा जोड दिन्छन्। नेपालमा पर्यटक र लगानी भित्र्याउन सम्बन्धित सरकारी संयन्त्रले उपयुक्त योजना बनाई प्रवासी नेपालीको पनि साथ लिई कार्यान्वयन गर्न सकेमा नेपालको आर्थिक समृद्धिमा बल पुग्ने उनको भनाइ छ ।
कोलकोतास्थित नेपाली महावाणिज्य दूतावास र नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडको शाखाले दुई देशबीचको व्यापार, पारवहन र द्विपक्षीय सम्बन्धका क्षेत्रमा कार्य गर्दै आएको छ । उपमहावाणिज्यदूत कर्णप्रसाद तिमिल्सिनाले नेपालमा उत्पादन र भारतमा खपत हुनसक्ने चियालगायतका वस्तुको व्यापार प्रवर्द्धनका लागि दुई देशबीच भएका समझदारी र विद्यमान करका दायरालाई सहजीकरण गरिएको जानकारी दिए।
प्रवासी नेपाली र नेपालीभाषीले आफ्ना रीतिरिवाज र चाडपर्व भने आफ्नो परम्पराअनुसार नै मनाउँदै आएका छन्। उनीहरुले घरपरिवारमा नेपाली भाषा बोल्ने गर्छन् भने विद्यालय र कार्यालयमा आवश्यताअनुसार हिन्दी, बङ्गाली र अङ्ग्रेजी भाषाको प्रयोग गर्छन् । यहाँस्थित प्रवासी नेपाली सङ्गठन र सामाजिक संस्थामा उनीहरूको सहभागिता हुने गरेको छ।
गंगा आरती, बुद्ध जयन्ती, नयाँ वर्ष, हरितालिका (तीज), होली, महाशिवरात्रि, दीपावलीजस्ता पर्वमा यहाँ नेपाली र बङ्गाली समुदायबीच संयुक्त उत्सव पनि हुने गरेको छ। त्यसो त कोलकातामा नृत्य निर्देशनका क्षेत्रमा चम्किरहेका दिलीप थापाले समय–समयमा नेपालका कलाकार र नृत्य निर्देशकबीच भाइचारा बढाउँदै आएका छन् ।
नेपाली जनकल्याण समितिले हरेक वर्ष आदिकवि भानुभक्त आचार्यको जन्मयन्ती कार्यक्रम गर्दै आएको छ भने ‘श्रीश्री जानकी माता नेपाली धार्मिक संघ’ले मानवीय कार्य गर्दै आएको छ । समितिले यही साउन ६ गते हावडा मैदानस्थित शरत सदनमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यतामा दुई सय १०औँ भानुजयन्ती मनाएको थियो। कार्यक्रममा भारतको पश्चिम बङ्गालका सहकारीमन्त्री अरुप रायको पनि उपस्थिति थियो ।
समितिले ‘बिहानी’ नामक वार्षिक पत्रिका प्रकाशन गर्दै आएको छ भने भारत–नेपाल जनमैत्री सांस्कृतिक मञ्चका हरेक दुई वर्षमा अन्तर्राष्ट्रिय साहित्य सम्मेलन आयोजना गरी दुई देशको सांस्कृतिक र साहित्यिक सम्बन्धलाई जोड्दै आएको छ । |
पोर्चुगलमा तीन महिनादेखि नेपाली युवक बेपत्ता, खोजीदिन आग्रह अर्घाखाँची। अर्घाखाँचीको खिल्जीबाट रोजगारीका लागि पोर्चुगल गएका एक युवक तीन महिनादेखि बेपत्ता भएका छन् ।
रोजगारीका लागि पोर्चुगल गएका भूमिकास्थान नगरपालिका–६ खिल्जीका २५ वर्षीय भुपाल दमासे गत वैशाख १३ गतेदेखि सम्पर्कविहीन भएको उनका बुबा झविरामले बताए।
सम्पर्कविहीन भएका छोराको खोजी गरिदिन र कस्तो अवस्थामा छ जानकारी गराइदिन उनले सबैलाई आग्रह गरेका छन् ।
विगत ढाई वर्षदेखि रोजगारीको लागि पोर्चुगल गएका भुपाल तोरेस भेदरस भन्ने स्थानमा बसेर काम गर्दै आएको श्रीमती मीरा दमासेले बताए ।
उनको अवस्थाको बारेमा विगत तीन महिनादेखि कुनै जानकारी प्राप्त नभएकाले खोजी गरिदिन उनले आग्रह गरे। |
मलेशियामा अलपत्र तीन दर्जन बढी नेपाली कामदारले न्युनतम पारिश्रमिक पाउने क्वालाम्लमपुर। वैदेशिक रोजगारीका लागि मलेशिया पुगेका ३ दर्जन बढी नेपाली श्रमिकले न्युनाेतम पारिश्रमिक पाउने भएका छन्।
वैदेशिक राेजगारीका लागि मलेशिया पुगेका नेपाली श्रमिकले लामाे समयदेखि पारिश्रमिक नपाएकाे समाचार सार्वजिनक भएपछि नेपाली श्रमिकलाई न्युनाेतम पारिश्रमिक दिन ब्लाक हम्मर कम्पनी तयार भएकाे हाे।
मलेशियामा नेपाली श्रमिक अलपत्र परेकाे समाचार सार्वजनिक भएसँगै नेपाली मजदुर एकता समाजले साे विषायमा चासाे लिएकाे थियाे।
मजदुर समाजका महासचिव समर्पण भट्टराईले नेपाली कामदारको न्युनतम पारिश्रमिक उपलब्ध गराउन र नियमित काम दिन कम्पनीले नसके क्षतिपूर्तीसहित कामदारलाई स्वदेश फर्काउन वैदेशिक रोजगार बिभागका महानिर्देशक मदन दाहाल, मलेशियास्थित नेपाली राजदूतावासका डिसिएम मोति श्रीश महर, श्रम सहचारी र सम्बन्धित म्यानपावर कम्पनीसँगको पहलपछि कामदारको समस्या समाधान गर्न सम्बन्धि कम्पनी तयार भएकाे हाे। |
एनआरएनए स्पेनको अध्यक्षमा पेशल कोइराला निर्विरोध काठमाडौं। एनआरएनए स्पेनको अध्यक्षमा पेशल कोइराला निर्वाचित भएका छन्। अध्यक्षमा अन्य कसैको उम्मेवारी नपरेपछि कोइराला निर्विरोध निर्वाचित भएका हुन्।
आइतबार भएको मनोनयन दर्तामा अध्यक्ष पदको लागि कोइरालाको मात्रै उम्मेवारी परेकाे थियो।
अध्यक्षसँगै अन्य पदाधिकारीसमेत निर्विरोध निर्वाचित भएका छन्। आईसीसी सदस्यमा यज्ञनारायण पौडेल, वरिष्ठ उपाध्यक्ष रोशन पाठक, उपाध्यक्ष खुल्लामा नारायण भट्टराई उपाध्यक्ष खुल्लामा रामप्रसाद दाहाल, उपाध्यक्ष महिला कमला बराल, उपाध्यक्ष क्षेत्रमा सुरेन्द्र भुजेल थापा निर्विरोध भएका छन्।
यसैगरी महासचिवमा सुन्दर रानाभाट, उपमहासचिव केशवराज कँडेल सविच खुल्ला नविन घिमिरे र राजेन्द्रप्रसाद काफ्ले निर्विरोध भएका छन्।
आइतबार मनोनयन दर्ता थियो। अध्यक्षमा कोइरालको मात्रै मनोनयन दर्ता भएपछि उनी निर्विरोध निर्वाचित भएका हुन्।
अध्यक्षमा निर्वाचित भएपछि कोइरालाले स्पेनमा आएर बसोबास गर्ने नेपालीको साझा संस्थाको रुपमा नेपाल घर बनाउने योजना सुनाए। उनले स्पेनमा रहेका नेपालीको समस्या समाधान गर्ने र सीम मुलक तालिमको आयोजना गर्ने साथै नेपालको पर्यटन प्रवद्र्धनका लागि काम गर्ने उल्लेख गरे।
|
एनआरएनए जर्मनी फुटबल कपको तयारी पूरा ह्यामवर्ग। जर्मनीको ह्यामवर्ग सहरमा शनिबार एनआरएनए जर्मनी फुटबल कपको आयोजना हुँदैछ ।
गैर आवासीय नेपाली संघ, क्षेत्रीय समन्वय समिति ह्यामवर्ग र नेप्लीज फुटबल क्लब ह्यामवर्गको संयुक्त आयोजनामा हुने प्रतियोगिताको सम्पूर्ण तयारी सकिएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा १२ ओटा नेपाली टोलीबीच प्रतिस्पर्धा हुनेछ । लिग चरणका आधारमा खेलाइने प्रतियोगिताका लागि ८ जना जर्मन रेफ्रिहरु रहनेछन् ।
१२ ओटा टोलीलाई ४ समुहमा विभाजन गरिएको छ । जस अन्तर्गत समुह ‘ए’ मा एनएफसी हानोफर, नेपाल डार्मस्टाड एसी र नेप्लिज स्टार एनआरडब्लू समुह ‘बी’ मा आइनट्राक्ट नेपाली, एनएफसी स्टुटगार्ट र एनएफसी ह्यामवर्ग रातो रहेका छन् ।
त्यसैगरी समुह ‘सी’ मा खुकुरी ब्रेमेन एफसी, एफसी बर्लीन नेपाल र एनएफसी बोन छन भने समुह ‘डी’ मा एनएफसी ह्यामवर्ग नीलो, आखेन चुली एफसी र एनएफटी म्युनिख रहेका छन् ।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथी जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले गर्ने एलसीसी ह्यामवर्गकी अध्यक्ष कल्पना वाग्लेले जानकारी दिइन्।
प्रतियोगिताका लागि जर्मनी लगायत युरोपका अन्य देशबाट पनि नेपालीहरु ह्यामबर्ग शहर पुगेका छन् । करिब १ हजार जनालाई निमन्त्रणा गरिएको र करिब सबै आउने हुनाले उपस्थिती संख्या बाक्लो रहने एनआरएनए अभियन्ता अर्जुन ओलीले जानकारी दिए।
प्रतियोगिताको विजेता टोलीले १५ सय यूरो र ट्रफि, दोश्रो हुनेले एक हजार युरो र ट्रफि पाउने छन् भने तेस्रो हुने टोलीले ५ सय युरो र ट्रफि पाउने छन्।
|
एनआरएनए कतारको अध्यक्षमा गुरुङको उम्मेदवारी दोहा (कतार) । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए/एनसीसी) कतारको नेतृत्वमा उत्तम गुरुङले उम्मेदवारी घोषणा गरेका छन् ।
गुरुङले आगामी कार्यकाल २०२३ देखि २०२५ सम्मका लागि अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।
झण्डै दुई दशकदेखि कतारमा बसोबास गर्दै आएका गुरुङले कतारका विभिन्न उद्योगमा रहेर काम गर्दै आएका श्रमिकको हितमा रहेर काम गर्ने बताएका छन् । कतारमा श्रमिकका गुनासा सुन्न र दुतावाससँग सहजिकरण गर्न हटलाईन ल्याउने उनको योजना छ ।
उनले आफ्नो चुनावी एजेण्डामा लेखेका छन्, “कतारमा काम गर्ने श्रमिकको पारिश्रमिक र इन्सुरेन्सको सुनिश्चितताका लागि पहलकदमी चाल्नेछु।”
हरेक ३ महिनामा एनसीसी कतारको आयव्यय संस्थाको अफिसियल वेबसाईट र फेसबुकमार्फत सार्वजनिक गर्नुका साथै गैर आवासीय नेपाली संघ (एनआरएनए)मा आर्थिक पारदर्शिता र संस्था सुद्धिकरणका लागि विशेष पहल गर्ने उनको योजना रहेको छ ।
यसअघि नै अध्यक्ष पदका लागि रमेश भट्ट, पदम गिरी, जैवी राई चाम्लिङ र अब्दुल रहमानले उम्मेदवारी घोषण गरिसकेका छन् ।
एनआरएनए कतारको दशौँ राष्ट्रिय महाधिवेशन ३० जुलाईमा हुने भनिएको छ तर कार्यसमिति चयनका लागि जुलाई २१ तारिख हुने भनिएको निर्वाचन अझै हुन सकेको छैन ।
निर्वाचन समितिले चुनावको टुंगो लगाउन ढिलाई गरेपछि अब यो निर्वाचन २७ र २८ तारिख हुने भनिएको छ । |
दित्या इन्टरनेशनल मेनपावरबाट मलेशिया पुगेका तीन दर्जन श्रमिक अलपत्र प्रवास। स्वदेशमा रोजगारीको अभावले वैदेशिक रोजगारीमा जाने नेपाली युवा युवतीको संख्या दिनानुदिन बढ्दो छ ।
यही क्रममा नेपालबाट वैदेशिक रोजगारीको लागि मलेशिया पुगेका तीन दर्जन नेपाली श्रमिक अलपत्र परेका छन्। काठमाडौंको सिनामंगलस्थित दित्या इन्टरनेशनल मेनपावर मार्फत मलेसिया पुगेका करिब ३ दर्जन नेपाली कामदारहरु बिगत ५० दिनदेखि अलपत्र परेका हुन्।
बिना न्युनतम पारिश्रमिक मात्रै होइन राशन खर्च समेत उपलब्ध नगराएको र अत्यन्तै पीडादायी अवस्थामा रहेकोे जानकारी संम्बन्धित मेनपावर संचालक सन्ध्या कुमारी बोहरालाई जानकारी गराइए पनि मेनपावर सञ्चालकले कुनै पहल गरेका छैनन्।
कामदारहरुको समस्या समाधानका लागि आवश्यक पहल गर्न पटकपटक पहल गरेपनि मेनपावरले चासो नदिएको नेपाली मजदुर एकता समाजका केन्द्रीय महासचिव समर्पण भट्टराईले डिसी नेपाललाई जानकारी दिए।
अलपत्र श्रमिकको उद्धार गर्ने बारेमा बारम्बार मेनपावरमा जानकारी गराउँदा पनि मेनपावर सञ्चालकले कुनै पहल नगरेको महासचिव भट्टराईले बताए।
मेनपावर संचालक शन्ध्या कुमारी बोहरा यो समस्याको बारेमा सम्पर्क गर्दा कुनै पनि प्रतिक्रिया दिन चाहिनन्। मेनपावर एक व्यवासाय हो आफ्नो व्यवसायप्रति समस्या र प्रश्न उठेपछि नैतिकताको हिसाबले जवाफदेही बन्ने पर्ने उनको दायित्व हो।
तर, चुपचाप बसेकी उनी नेपाली श्रमजीवी नागरिकलाई शोषण गर्न सक्रिय दलालको रूपमा रहेको प्रष्ट हुन्छ।
उक्त मेनपावरले नेपाल सरकार र मलेसिया सरकार बीच भएको फ्री भिसा फ्री टिकट को सम्झौता बिपरित कामदारसँग जनही दुई लाख असी हजार रुपैयाँ लिएर मलेसिया पुर्याएर अलपत्र पारेको कामदारहरुले नेपाली मजदुर एकता समाजलाई बताएका छन्।
पीडित कामदार हरुको न्याय र उद्वारका लागि नेपाल सरकार वैदेशिक रोजगार विभाग मलेशिया स्थित रहेको नेपाली राजदुतास लगाएत संबंधित निकायसँग सहकार्य गरि सम्बन्धित मेनपावरलाई कानुनी दायरामा ल्याएर छाड्ने नेपाली मजदुर एकता समाजका महासचिव भट्टराईले प्रतिवद्धता जनाए।
यदि समयमै कामदारको समस्या मेनपावरले समाधान नगरे नेपाली श्रमिकको हकहितका लागि जस्तोसुकै चुनौती मोल्न पनि तयार रहेको उनले चेतावनी दिए। |
कुवेतमा एक नेपाली कामदारको मृत्यु काठमाडौं । कुवेतमा एक नेपाली श्रमिकको ज्यान गएको छ। तेल निकाल्ने मेसिनमा च्यापिएर ओखलढुंगाका मान बहादुर भुजेलको मृत्यु भएको हो।
कुवेतको स्पिडको कम्पनीमा कार्यरत भुजेलको केओसी प्रोजेक्ट अन्तर्गत रद्का भन्ने ठाउँमा तेल उत्खनन् गर्ने मेसिनमा च्यापिएर मृत्यु भएको त्यहाँस्थित प्रहरीले जनाएको छ।
विगत १६ वर्षदेखि कुवेतलाई कर्मथलो बनाउँदै आएका मृतक भुजेल परिवारका साथ कुवेतको मङ्गाफमा बस्दै आएका थिए। उनकी श्रीमती पनि कुवेतमै रहेकाले घटना बारे त्यहाँस्थित नेपाली दूतावासलाई जानकारी गराइसकिएको छ।
पतिको शव नेपाल पठाउन आवश्यक सहयोग गरिदिन दूतावास र गैरआवासीय नेपाली संघ एनआरएन कुवेतलाई उनले अनुरोध गरेकी छन्। |
भारतमा खोलाले बगाउँदा एक नेपालीको मृत्यु काठमाडौं । भारतमा खोलाले बगाउँदा एक नेपालीको ज्यान गएको छ । रोल्पाको त्रिवेणी-४ चालढुंगा निवासी नरेश वलीको भारतमा खोलाले बगाउँदा मृत्यु भएको हो ।
खोलाले बगाउँदा ४७ वर्षीय वलीको असार २५ गते चन्डीगढमा मृत्यु भएको प्रहरीको भनाइ छ । बिदाको दिनमा आफन्तसहित चन्डीगढस्थित अमरावाती नदी किनारमा घुमघाम गर्न पुगेका बेला उक्त नदीको ड्याम खोलिँदा एक्कासि आएको बाढीले उनलाई बगाएको थियो ।
असार २५ गते बेलुकीको ५ बजेर ४० मिनेटतिर वलीलाई बगाएको थियो । साथमा घुम्न पुगेका साथीहरूले उनलाई बचाउने कोसिस गरेका थिए । नरेशका भाइ कविराज नदीमै हाम फालेर दाइलाई बचाउने प्रयास गरे पनि उनको प्रयास विफल भएको हो ।
नदीले २५ गते सोमबारका दिन बगाए पनि उनको शव दुई दिनपछि असार २७ गते बुधबारका दिन बेलुकी ६ बजे करिब ३५ किलोमिटर टाढाको मुबारकपुरमा फेला परेको थियो ।
मृतक वलीको शवको पोस्टमार्टम भने असार २९ गते भारतको पन्चुला सेक्टर ६ स्थित अस्पतालमा गरिएको थियो । भारतमा रहेका आफन्तले चन्डीगढकै मनिमाजरा हाउजिङ बोर्ड नजिक रहेको घाटमा दाहसंस्कार गरेका थिए । |
श्रम स्वीकृतिसहित कुवेत जान लागेका ११७ श्रमिकलाई विमानस्थलबाटै फर्काइयो काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले कुवेत जान लागेका ११७ जना श्रमिकलाई विमानस्थलबाट फिर्ता गरिदिएको छ।
उनीहरुको भिसा शंकास्पद भएको र उनीहरु ‘प्रतिबन्धित’काममा जान लागेको समेत आशंका भएकोले उनीहरुलाई फर्काइएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका सूचना अधिकारी झंकनाथ ढकालका अनुसार बुधबार र बिहीबारका फरक फरक उडानबाट जान लागेका ११७ जनालाई र्फाइएको हो।
ढकालका अनुसार यसरी शंकास्पद रुपमा जान लागेका श्रमिकहरुलाई रोक्ने क्रम पछिल्ला केही दिनदेखि जारी छ।
अध्यागमन कार्यालयले सलाम एयरमार्फत बुधबार साँझ कुवेत जान लागेका १०१ जना र बिहीबार बिहान कुवेत एयरमार्फत जान लगेका १६ जना श्रमिकलाई विमानस्थलबाट फर्काएको हो।
ढकालका अनुसार उनीहरुले साथमा बोकेका कागजातहरु शंकास्पद थिए। केही कागजातमा एउटा काम लेखिएको तर अर्कै काममा जान लागेको, केहीको दूतावासमार्फत श्रम स्वीकृतिका लागि पठाइएको पत्र शंकास्पद देखिएको थियो।
उनीहरुले साथमा बोकेका कागजातमा उनीहरुले गर्ने काम अर्कै लेखिएको तर अध्यागमनका अधिकारीहरुले सोधपुछ गर्दा उनीहरुले अर्कै काम गर्न जान लागेको जवाफ दिएपछि अधिकारीहरुलाई शंका लागेको थियो। कागजातमा लेखिएका कुरा र सोधपुछमा उनीहरुले बताएका कुरा बाझिएपछि उनीहरुलाई रोकिएको हो।
यी सबै कामदारहरुले वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति पनि लिइसकेका थिए । तर, उनीहरुमध्ये केहीसँग हातमा अर्कै भिसा र लगेजमा अर्कै भिसा समेत पाइएको थियो।
यसरी रोकिएकामध्ये धेरै महिला पनि छन्। उनीहरुलाई घरेलु श्रमिकका रुपमा कुवेत लैजान लागिएको आशंका गरिएको छ। नेपालबाट अहिले घरेलु श्रमिकको रुपमा काम गर्न कुवेत जान पाइँदैन।
ढकालका अनुसार यो मामिलामा अध्यागमन विभागसँगै श्रम मन्त्रालय, गृह मन्त्रालय पनि जोडिने भएकोले सम्बन्धित मन्त्रालयसँग छलफल भइरहेको छ।
यसरी एउटा भिसा देखाएर अर्कै काममा जाँदा उनीहरु असुरक्षित हुने, बीमा दावी नपाउने जस्ता समस्या हुने भएकोले उनीहरुलाई रोकिएको ढकालले बताए।
|
एनआरएनएका एक्ला ‘राम’, जो अरुलाई छोड्दै जाँदा आफैं छुटिरहे काठमाडौं। करिब ४७ वर्षअघि जर्मनीको भूमी टेक्दा त्यहाँका सडकमा नेपाली अनुहार बिरलै देखिन्थे। जर्मन युवतीसँग प्रेममा परेका तन्नेरी रामप्रताप थापा पनि प्रेमिकाको हात समाउँदै केही समय जर्मन सहरहरू घुमे। त्यहीँ पढे। बिहे गरे। अनि घरजम भएपछि त्यही मायाले तान्यो।
गोरखाको मध्यम वर्गीय परिवारमा उनी सन् १९५० मा जन्मिएका थिए। १९७४ मा पहिलोपटक घुम्न भनेर जर्मनी पुगेका थापा त्यो बेला लगभग २ महिनाजति घुमेर फर्किए। त्यो बेलै जर्मन परियोजनामा काम गर्न आएकी एकजना जर्मन युवतीसँग नेपालमै उनको प्रेम बसिसकेको थियो। यता पनि उनले पढाइ सक्दै थिए।
विदेशमै बस्ने रहर त थिएन। परिवार चाहन्थे उनी नेपालमै बसून्। नेपालमै केही गरुन्। गोरखाको भूमिमा धेरै लामो पुस्तादेखि बस्दै आएको परिवार भनेर चिनिन्थे उनीहरू। पहिलोचोटी जर्मनीका सहर घुमेर फर्किएका उनलाई त्यहीँको प्रेमले पढ्नका लागि भनेर फेरि तान्यो। सन् १९७६ मा दोस्रोपटक त्यहाँ पुगेपछि त्यही प्रेममा उनी बाँधिए अनि त्यतै बसे।
घरबास जमिसकेको थियो। पढाइ सकिएको थियो। जागिर पनि भेटाइ सकेका थिए। लगभग ३० वर्षसम्म उनले त्यहाँको प्रतिष्ठित बैंकमा काम गरे। जर्मन भूमि मै सन्तानहरू पनि जन्मिए। त्यसपछि कहिलेकाहिँ मात्रै उनी नेपाल आउन थाले। सारा जीवनको कर्मभूमि उनले जर्मनीलाई नै बनाए।
दोस्रो विश्वयुद्ध सकिएपछि सारा देशहरू पुनर्निर्माणमा जुट्न थालेका थिए। विश्वभरि त्यसपछि शान्ति अभियान घन्किएको थियो। त्यही बेला विश्वका धेरै देशमा नेपालीहरू पनि पुग्न थाले। त्यहीँको माटोमा पसिना बगाउने नेपालीहरू बाक्लिइ रहेका थिए। जर्मनका सहर अनि कुनाकाप्चामा पनि नेपाली पुग्न थाले।
सन् २०००को युग सुरु हुँदै गर्दा विश्वका धेरै भागमा नेपाली पाइलाहरू सल्बलाइसकेका थिए। धेरै नेपाली पढ्न अनि काम गर्न भनेर विश्वका धेरै देशमा पुगिसकेका थिए। त्यहीँ जमिसकेका थिए। त्यो बेला सार्क बाहेकका देशहरूमा करिब करिब ५ लाखभन्दा धेरै नेपाली छरिइसकेका थिए।
सुरु मै विदेशी भूमिमा पुगेर त्यहाँ जागिर अनि ब्यापार गरेर लगभग आफूलाई ‘सेट’ गरिसकेका नेपालीले त्यसपछि विश्वभरका नेपालीलाई एउटै छातामुनि ल्याउने प्रयास थाले।
त्यतिबेला सबैभन्दा बढी नेपालीहरू केन्द्रित अनि भूपू गोर्खा सैनिकहरुको बसोबास रहेको वेलायतबाटै सबै नेपालीलाई एकै ठाउँमा प्रयास थाल्न त्यो बेला मस्कोका डा.उपेन्द्र महतो, जिबा लामिछानेसहित विभिन्न देशका १६ जनाको बैठकले गैर आवासीय नेपाली संघ (एनआरएनए) को रचना गरे।
एनआरएनए जन्माउने मध्येका एक हुन्, यिनै रामप्रताप थापा। लण्डनको त्यही बैठकले २००३ को अक्टोबर ११ का दिन काठमाडौंमा पहिलो गैर आवासीय नेपाली (एनआरएन) सम्मेलन सम्पन्न भयो। र, त्यसको लगभग ७ वर्षपछि बल्न नेपाल सरकारको कानुनअनुसार यो संस्था नेपालमै दर्ता पनि भयो।
त्याग, समर्पण र लगन
पढ्न, पढाउन अनि मात्रै ‘कर्म’ गर्न जानेका यी रामप्रतापले राजनीति कहिल्यै गरेनन्। चाहेनन् पनि। गर्न जानेनन्। अनि राजनीतिको त्यो ‘दूषित’ बाछिटादेखि सधैं टाढा बसे।
‘मैले राजनीतिलाई अवहेलना त गरेको होइन। तर, म आफै राजनीतिमा कहिले पनि लागेको छैन। त्यसैले अहिलेसम्म म कुनै पनि राजनीतिक पार्टीमा संग्लन छैन। राजनीतिमा लाग्न मेरो क्यारेक्टर पनि मिल्दैन जस्तो लाग्यो। राजनीतिमा आउन धेरैले प्रेसर गरे पनि मैले चाहिनँ’ अहिले आउँदा रामप्रतापलाई लाग्छ ‘सायद त्यही राजनीतिमा नमिसिएरै म सधैं नेतृत्वमा पुग्नबाट चुकें कि ?’
रामप्रताप भने कुनै पनि ब्यापार व्यवसायमा लागेनन्। जीवनका आधा यात्रा उनले बैंकिङ पेशामा बिताए। त्योसँगै नेपाल र नेपालीका लागि सामाजिक अभियानमा पनि लागे।
एनआरएनए जन्माउँदा उनलाई लागेको थियो, यही संस्था हो, जसले विश्वभरि छरिएका सारा नेपालीलाई एउटै राष्ट्रिय सूत्रमा बाँध्नेछ अनि जन्मभूमि प्रतिको प्रेम झन् एक ढिक्का हुनेछ।
राष्ट्रप्रेमको त्यही ढिक्कालाई उनले बचाइराख्न चाहन्थे र त्यसका लागि एकपटक नेतृत्वमा पनि आउन चाहन्थे।
‘त्यो मेरो कुनै महत्वकांक्षा थिएन। राजनीति पनि थिएन अनि अरू केही लोभ पनि थिएन’ थापा भन्छन् ‘तर एकपटक नेतृत्वमा आएर विश्वभरि छरिएका नेपालीको सेवा गर्ने अनि त्यसको फल देशमा पनि लैजाने मेरो ठूलो इच्छा हो। तर परिस्थितिहरू कहिल्यै मेरा अनुकूल भएनन्।’
त्यसका लागि चौथो सम्मेलनमा उनले अब आफ्नो पालो आएको ठानेर अध्यक्षका लागि प्रयास गरे। लगभग उनलाई नरुचाएका कोही पनि थिएनन्। सबैले उनलाई नै नेतृत्वका रूपमा स्विकार्न तयार भइसकेका थिए। कतिले त उनलाई खादा माला लगाएर बधाई पनि दिइसकेका थिए।
तर फेरि अरू कसैको इच्छा उनले सुने। त्यसलाई नकार्न सकेनन्। डर थियो, असन्तुष्टी यी स्वरहरू बढ्दै जाँदा एनआरएनए फुट्ने पो हो कि ? पाइसकेको अध्यक्ष पद त्यो बेला रामप्रतापले छोडिदिए। देवमान हिराचन अध्यक्ष भए।
पाँचौ महाधिवेशनसम्म आइपुग्दा उनलाई एनआरएनएमा राजनीति घुस्न थालेको अनुभव भइसकेको थियो। तथापि रामप्रताप फेरि अध्यक्ष हुन खोजे। तर त्यो बेला जीवा लामिछानेले पनि अध्यक्ष हुने इच्छा जताए। देवमान फेरि दोहोरिन चाहन्थे। तर जीवाका पक्षमा बहुमत थियो। रामप्रतापले फेरि एनआरएनएलाई उद्देश्यमूलक बनाउनका लागि यसपालि पनि जीवालाई छोडिदिए।
‘त्यो बेला जीवाजीजस्ता योङ्ग मान्छेहरू आएपछि संस्थामा केही परिवर्तन हुन्छ अनि संस्थाले नयाँ गति लिन्छ कि भनेर मैले पनि उहाँलाई सपोर्ट गर्दै छोडिदिएँ’ रामप्रतापलाई त्यसपछि लाग्यो, ‘अहँ संस्था त झन् झन् राजनीतिले थलिँदैछ। अघि बढ्ने होइन झन् झन् अलमलमा फँस्दैछ।’
जीवा सहमतिमै अध्यक्ष भए। हिराचनले अन्तिम अवस्थामा उम्मेदवारी फिर्ता लिए।
छैठौं अधिवेशनसम्म पनि उनलाई एकपटक नेतृत्व गर्ने इच्छा जागै थियो। तर त्यो ‘महत्वकांक्षा’ भने थिएन न उनका लागि त्यो जीवनकै प्रतिष्ठाको विषय थियो। त्यो बेला पनि उनको उम्मेदवारी चर्चामा थियो। सँगै शेष घलेलगायत अरू पाँचजनाले पनि अध्यक्षका लागि उम्मेदवारी दिए। अब भने एनआरएनए राजनीतिमा चुर्लुम्मै डुबेको अनुभव रामप्रतापले गरे।
शेष घलेजस्ता मान्छे आउँदा एनआरएनएको गति र शक्ति झन् बढ्ने देखे रामप्रतापले फेरि पछि हटे। अन्तिममा घलेले नै बाजी मारे। रामप्रतापले त्यहाँ पनि ‘त्याग’ गरे। तर संस्थाप्रतिको लगन, समर्पण र प्रेम कहिल्यै मार्न सकेनन्। शेष घलेको पहिलो कार्यकालमा रामप्रताप एनआरएनएको प्रमुख संरक्षक पनि भएका थिए।
सन २०२१ को अधिवेशनसम्म आइपुग्दा कुमार पन्तले नेतृत्व सम्हालिरहेका थिए। तर अधिवेशनको मुखैमा विवादहरू यति धेरै बल्झिए कि समाधानका बाटाहरू लगभग पुरिइसकेका थिए। परराष्ट्र मन्त्रालयले शेष घलेको अध्यक्षमा एउटा संरक्षक परिषद बनाएर विवादहरू टुङ्ग्याउन र अधिवेशन गराउन भनेर कार्यादेश दियो। मन्त्रालयले घलेलाई व्यक्तिगत रुपमा विवादहरू टुङ्ग्याउन र अधिवेशन गराउने भनेर कार्यादेश दिएको थियो। तर यो समाधानको बाटो नभएको सिद्ध भयो।
एनआरएनएभित्र राजनीतिको विभाजित बाटोले अचम्मसँग बढुवा पाएको थियो।
त्यो परिषदमा पूर्व अध्यक्षहरु उपेन्द्र महतो, जीबा लामिछाने, देवमान हिराचन र भवन भट्टसँगै रामप्रताप थापा पनि थिए।
एनआरएनए जन्माउने पूर्व अध्यक्षहरूको त्यो परिषदले प्रयास थाल्दा थाल्दै पनि यही अधिवेशनले एनआरएनएलाई चिर्दै चिर्दै झन् धेरै टुक्राहरू पारिदियो।
अन्तिम अवस्थामा संस्थाका नेतृत्वकर्ताहरू अलग्गिएर दुईटा बाटो समाए। आफ्ना नजिकका मान्छेहरू राखेर समानान्तर एनआरएनए बनाइयो। यता मूल नेतृत्वमा झन् अलमल भयो। अन्तिममा एउटा उपाय निस्क्यो, तीन जना अध्यक्ष।
अघिल्लो अधिवेशनबाटै अध्यक्ष हुन खोजिरहेका कूल आचार्य, वद्री केसी र रविना थापाहरू छ महिना कार्यकाल बाँडेर अध्यक्ष भए। ११ जना उपाध्यक्ष छानिए, २ जना महासचिव भए। ५ जना उपमहासचिव अनि १० जना सचिव ३ जना कोषाध्यक्ष र ८ जनासम्म सहकोषाध्यक्ष राखेर पदहरू टुक्रा टुक्रा पारेर बाँडियो।
एनआरएनएको २० वर्षे इतिहासमा यस्तो पहिलोचोटी भएको थियो कि जसले जे इच्छा राख्छ त्यही पाए। रातारात बिधान सच्याएर ७४ जनाभन्दा धेरै पदाधिकारीका हुल नेतृत्वमा छिर्यो।
त्यो सपना, यो एनआरएनए
रामप्रतापहरूले त्यो बेला जन्माएको एनआरएनएभित्र यो संस्कार झाँगिएला भन्ने कल्पना उनीहरूले कहिल्यै गरेका थिएनन्।
तर त्यही भयो जहाँ रामप्रतापहरूको कल्पना अनि आशा र भरोसाहरू पुरिन थाले। एनआरएनएभित्र राजनीति यसरी झाँगियो कि अब यसलाई सफा गर्न निकै कठिन हुनेछ। अब रामप्रतापलाई कुनै इच्छा छैन नेतृत्वमा आउने। उनले बुझेका छन्, अब एनआरएनए अभियान्ताहरूको रहेन। यो त अब सिमित स्वार्थ बोकेका ब्यापारी, कुनै आस्था बोकेका राजनीतिक दल अनि त्यस्तै स्वार्थ समूहको चङ्गुलमा फँसिसक्यो।
यी सब नपाइँरहदा उनलाई कत्ति चिन्ता छैन, जबसम्म एनआरएनए आफ्नो गन्तव्य बिर्सदैंन। बरू डर छ त्यसरी जन्माएको अनि प्रेमले हुर्काएको संस्था बाटो बिराउँदै बिराउँदै झन् बिलाउने पो हो कि?
मूल कार्यकारी नेतृत्वमा उनलाई कहिल्यै आउन नदिइएको ठान्छन् कतिपय उनका शुभिचन्तकहरूले। तर उनले त्यसका लागि उतिसारो मरिहत्ते कहिल्यै गरेनन्। कुनै कार्यकारी पदमा नरहे पनि उनी एआरएनएभित्रै रहेर सारा आप्रवासी नेपालीका लागि धेरै लडे। प्रवासी नेपालीलाई नागरिकता दिलाउनका लागि उनले संस्थाभित्र धेरै भूमिका खेले। एनआरएनएले उनलाई नै नेपाल सरकारसँग समन्वय गरेर नागरिकताको मुद्दामा काम गर्ने जिम्मेवारी दिएको थियो। उनले त्यसका लागि नेपाल सरकार, यहाँका राजनीतिक दल र नेतृत्वसँग निकै संघर्षपूर्ण पहल गरे।
नेपाल सरकारले उनलाई सन् २००३मा जर्मनीका लागि नेपालका अवैतनिक महावाणिज्य दूत पनि बनाएको थियो। अहिले पनि उनी त्यो पदमै छन्। र उनी सन् २००० देखि जर्मन-नेपाल मैत्री संघका अध्यक्ष पनि हुन्।
एनआरएनएको नेतृत्व नपाए के भो !
कुनै न कुनै डोरीहरू समाएर यसरी उनी नेपाल र नेपालीबाट टाढा भने कहिल्यै हुन सकेनन्।
‘राजनीतिमा कहिल्यै लागिनँ त्यसैले त एनआरएनएको संस्थापक हुने सौभाग्य पाएँ। संसारभर छरिएर रहेका नेपालीको अभिभावक बन्ने मौका मलाई मिल्यो। म आफूलाई भाग्यमानी ठान्छु। म जस्ता नेपाली अरु देशमा पनि थिए होला, तर मलाई यो जिम्मेवारी दिइयो’ उनलाई लाग्छ, ‘युरोपमा बसे पनि विश्वभरका नेपालीलाई सेवा गर्न पाउँदा म आफूलाई भाग्यमानी ठान्छु। संसारभरका नेपालीबाट आवाज उठेको थियो राम थापालाई संस्थापकको जिम्मेवारी दिनुपर्छ भनेर। म पनि खुल्ला रुपले लागें। मैले मौका पाएँ, अब गरेर देखाउनु पर्छ भनेर म लागें।’
र, अझै पनि मन अठोट छ रामप्रतापसँग, एनआरएनएलाई राजनीतिमुक्त गराउनुपर्छ भन्ने अठोट– ‘मैले आफैले राजनीति गर्न जानिन्। नगरेपछि सिक्ने पनि कुरा भएन। राजनीति नजानेका कारण एनआरएनएमा लपन–छपन गर्न जानिन्। मेरो मान्यता एनआरएनएमा राजनीति गर्नु हुँदैन भन्ने थियो। पवित्र सामाजिक संस्थामा राजनीतिको रङ मिसाउन हुँदैन भन्ने नै हो।’
संस्था बचाउन, नेपालीलाई एकढिक्का बनाउन उनले जीवनभरि अरूलाई नै बाटो छोडिदिए।
अरूलाई छोड्दा छोड्दै उनी अब आफू धेरै टाढा छुटिसके होलान् तर रामप्रतापको मुटुले एनआरएनएलाई बिर्सन सक्छ न छोड्न।
अबको जीवन यही लडाइँमा बिताउनेछन् उनले कि एनआरएनएभित्रको राजनीतिक रंग पखालियोस् ।
|
विधानअनुसार महाधिवेशन गर्न एनआरएनएलाई मन्त्री साउदको आग्रह काठमाडौं। परराष्ट्रमन्त्री एनपी साउदले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) लाई विधानअनुसार महाधिवेशन गर्न आग्रह गरेका छन् । एनआरएनएको संस्थापन पक्ष र १०औँ महाधिवेशनमा असन्तुष्ट भएको पक्षका प्रतिनिधिहरुलाई उनले आज विधानअनुसार महाधिवेशन गर्न आग्रह गरेका हुन्।
परराष्ट्र मन्त्रालयमा आज संयुक्त रुपमा आएका दुवै पक्षका प्रतिनिधिहरुलाई मन्त्री साउदले विधान स्पष्ट बनाएर महाधिवेशनमा जान सुझाव दिए। “हाम्रो स्पष्ट सोच छ । पहिला तपाईंहरुको विधान क्लियर हुनुप¥यो”, साउदले भन्नुभयो, “विधानअनुसार एउटा प्रक्रियाले मान्छे छनोट हुन्छ । कोही हार्छ कोही जित्छ ।”
उनले परराष्ट्र मन्त्रालय र एनआरएनएबीचको सम्बन्ध स्पष्ट र विवादरहित हुनुपर्नेमा जोड दिए । “तपाईंहरु र हाम्रो सम्बन्ध विवादग्रस्त हुन हुन्न”, मन्त्री साउदले भन्नुभयो, “हामीले भोलि कुनै पनि निर्णय गर्दा तपाईंहरुको विधान बमोजिम हामीले त्यसमा एक्सन गर्ने हो ।”
मन्त्री साउदले कुनै पनि संस्थालाई नियन्त्रणमा राख्ने प्रवृत्ति र संस्थामा नियन्त्रण नहुँदा समानान्तर रुपमा गतिविधि गर्ने प्रवृत्ति दुवै घातक भएको पनि एनआरएनएका प्रतिनिधिहरुलाई स्मरण गराए ।
“संस्थालाई पूर्णतया नियन्त्रण राखिराख्ने प्रवृत्ति या संस्थामा नियन्त्रण भएन भने म समानान्तर रुपमा जान्छु भन्ने प्रवृत्ति दुवै घातक छन्”, परराष्ट्रमन्त्री साउदले भने, “त्यसको समाधान गर्ने तरिका के हो भने विधान र प्रक्रियालाई सबैले स्वीकार गर्नुपर्छ ।”
मन्त्री साउदले दुवै पक्षलाई मिलेर आउनसमेत सुझाए । “स्वीकार्यताको कुरा तपाईंहरु ल्याउनूस् । जुन तपाईंहरुले भन्नुभएको छ, त्यो मुद्दा (अदालतमा विचाराधीन) फिर्ता गरिदिनुस्”, उनले भने ।
परराष्ट्रमन्त्री साउदसँगको भेटमा एनआरएनएका कार्यकारी अध्यक्ष डा बद्री केसीले दुवै पक्षबीच आइतबारमात्रै एकताका लागि सहमति भएको जानकारी गराएका थिए। उनका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा दुवै पक्षबीच एकता गर्ने सहमति भएको हो ।
कार्यकारी अध्यक्ष केसी, उपाध्यक्ष आरके शर्मा र असन्तुष्ट भएको समूहबाट विनोद कुँवर तथा दुवै पक्षबाट गठित उच्चस्तरीय वार्ता समितिका संयोजकहरु डिबी क्षेत्री र जानकी गुरुङबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ ।
परराष्ट्रमन्त्री साउदलाई वाचन गरेर सुनाइएको सहमति पत्रमा आगामी अक्टोबरमा हुने ११औँ महाधिवेशन सहमति, सहकार्य र एकताको सन्देशसहित आयोजना हुने उल्लेख थियो । जसका लागि दुवै पक्षका प्रतिनिधिहरु रहने गरी एक उच्चस्तरीय अनुगमन समिति गठन गरिने छ ।
उक्त समितिले सदस्यता वितरण, महाधिवेशन प्रतिनिधि छनोट र राष्ट्रिय तथा अन्तरराष्ट्रिय समन्वय परिषद्को निर्वाचनको अनुगमन गर्नेछ । एनआरएनएले विधान संशोधनलाई परराष्ट्र मन्त्रालयबाट स्वीकृति लिनुपर्ने व्यवस्था छ ।
मन्त्री साउदसँगको भेटवार्तामा गैरआवासीय नेपाली सङ्घका तर्फबाट संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, कार्यकारी अध्यक्ष डा बद्री केसी, उपाध्यक्ष आरके शर्मा, महासचिव डा केशव पौडेल, उपमहासचिव गणेश केसी, सचिवद्वय गोविन्द गौतम, खगेन्द्र न्यौपाने, पूर्वसंस्थापक अन्तरराष्ट्रिय संयोजक भीम उदास, एनसिसी अमेरिकाका कोषाध्यक्ष राजीव श्रेष्ठ, एनसिसी युकेकी रोजिना प्रधान, विनोद कुँवर, जानकी गुरुङ, प्रमुख कार्यकारी अधिकृत रविकिरण अधिकारी लगायतको उपस्थिति रहेको थियो । |
एनआरएनएको विवाद मिल्यो, प्रधानमन्त्री दाहालको पहलमा दुई पक्षबीच चार बुँदे सहमति काठमाडौँ । गैरआवसीय नेपाली संघ (एनआरएनए)को विवाद समाधान भएको छ । १० औं महाधिवेशनपछि दुई समूहमा विभाजित भएको एनआरएनए अन्ततः एउटै बन्ने सहमति भएको छ । दुई पक्षबीच एकतासम्बन्धी चार बुँदे सहमति भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पहलमा दुई समूहमा विभाजित एनआरएनए एक भएको हो । एनआरएनएको विवाद मिलाउन पूर्वअर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ ले पनि भूमिका खेलेका थिए । आइतबार दुबै समूहबीच भएको वार्तापछि प्रधानमन्त्री प्रचण्ड र प्रभाकरको उपस्थितिमा दुई समूहले एकतासम्बन्धी सहमतिमा हस्ताक्षर गरेका हुन् ।
सो अबसरमा प्रधानमन्त्री प्रचण्डले दुई समूह भएका कारण सरकारलाई समन्वय गर्न केही असहज भएको बताउँदै एकठाउँमा आएको खुशी लागेको बताए। प्रधानमन्त्रीले दुईटै विधानलाई परराष्ट्रबाट प्रमाणित गराई एउटै बनाउन सुझाव समेत दिए।
विभाजित एनआरएनएलाई एकतावद्ध बनाउन अध्यक्ष डा। बर्दी केसी, अध्यक्ष विनोद कुँवरले लामो समयदेखि वार्ता र संवादलाई जारी राखेका थिए । जानकी गुरुङ र डिबी क्षेत्रीको संयोजकत्वमा वार्ता समिति बनाइएको थियो । उपाध्यक्ष आरके शर्मालगायतको उपस्थिति रहेको थियो ।
परराष्ट्र मन्त्रालयसँग यस्तै परराष्ट्र मन्त्रालय र सङ्घको विरुद्धमा अदालतमा हालेका मुद्दा फिर्ता लिने र गैर आवासीय नेपाली सङ्घसँग मेल खाने सोही प्रकृतिका अन्य गतिविधिहरू, संयन्त्र र संरचना खारेज गर्ने पनि सहमति भएको छ ।
विभाजन भएको संस्था एकताबद्ध बनाउन ठूलो कार्य भएको र बाँकी कामको लागि परराष्ट्र मन्त्रालयमा छलफल हुने अध्यक्ष विनोद कुँवरले जानकारी दिए ।
विभाजित भएको एनआरएनएलाई एकताबद्ध बनाउनको लागि लागि पर्ने दुवै पक्षका पदाधिकारीहरू, पार्षदहरु, सञ्चारकर्मी तथा सरोकारवाला सबै पक्षप्रति आभार व्यक्त गरिएको छ ।
सहमतिले अक्टोबरमा हुने ११औँ महाधिवेशन र निर्वाचनलाई कुनै बाधा नपर्ने सहमति पत्रमा उल्लेख छ ।
यस्तो छ सहमतिपत्र
सहमति पत्रमा गैरआवासीय नेपाली सङ्घको १० औँ महाधिवेशन एकताको महाधिवेशन हुन नसकेको यथार्थलाई दुवै पक्षले स्वीकार गरेका छन् । अब भने संघलाई सबैको अपनत्व रहने गरी एक साझा संस्थाका रूपमा अगाडि बढाउने र सङ्घको ११ औँ महाधिवेशन आगामी अक्टोबर महिनामा सम्पन्न गर्ने सङ्कल्प दुवै पक्षले गरेका छन् ।
जसअनुसार दुवै पक्षका प्रतिनिधिहरू रहने गरी एक उच्चस्तरीय अनुगमन समिति गठन गर्ने सहमति भएको छ । उक्त समितिले सदस्यता वितरण, महाधिवेशन प्रतिनिधि छनौट, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचनको अनुगमन गर्नेछ ।
यसैगरी एघारौं महाधिवेशन र निर्वाचनमा दुवै पक्षका प्रतिनिधिहरूको सहभागितालाई सुनिश्चित गरिने भएको छ । त्यसका लागि विधानमा व्यवस्था भए बमोजिम स्वतः महाधिवेशन प्रतिनिधि हुने दुवै पक्षका आइसिसीका वर्तमान पदाधिकारी, सदस्यहरू, संरक्षक, सल्लाहकार, मानार्थ परिषद् सदस्य र एनसिसिका वर्तमान तथा निवर्तमान अध्यक्ष लगायतका व्यक्तिहरू तथा विधानको प्राथमिकताको आधारमा छनौट हुने आइसिसी र एनसिसिका पदाधिकारी, सदस्य तथा अन्यलाई विधानमा व्यवस्था गरिए अनुसारको प्राथमिकताका आधारमा महाअधिवेशन प्रतिनिधि छनोट गर्ने सहमति भएको छ ।
यस्तै दुवै पक्षका एनसिसि र आइसिसीका पदाधिकारी, सदस्य, संरक्षक, सल्लाहकार, मानार्थ परिषद् सदस्यको संयुक्तरुपमा अभिलेखीकरण गरी परराष्ट्र मन्त्रालयको रोहबरमा प्रमाणीकरण गर्ने सहमति पनि भएको छ । यस्तै ११औँ महाधिवेशन पछि दुवै पक्षका आइसिसी र एनसिसिका विभिन्न पदमा रहेका पदाधिकारीहरू हैसियत पूर्व पदाधिकारी सरह हुने सहमति पत्रमा उल्लेख छ ।
यसैगरी दुवै पक्षका सदस्यहरूलाई वर्तमान एमआइएस प्रणाली अनुसार सदस्यता बन्ने व्यवस्था गर्ने पनि सहमति भएको छ । सदस्यता आवेदन बन्द भएका एनसिसिहरुमा अभिलेखीकरण मागी जुन ३० सम्म सदस्यता प्रमाणित गर्ने अवसर प्रदान गर्ने समझदारी पत्रमा उल्लेख छ ।
यस्तै दुई पक्षबीच एक उच्च स्तरीय विधान संशोधन समिति गठन गर्ने र उक्त समितिलाई ११ औँ महाअधिवेशनको बन्द सत्रले अनुमोदन गर्ने गरी सहमति पनि जुटेको छ ।
यस्तै परराष्ट्र मन्त्रालय र सङ्घको विरुद्धमा अदालतमा हालेका मुद्दा फिर्ता लिने र गैर आवासीय नेपाली सङ्घसँग मेल खाने सोही प्रकृतिका अन्य गतिविधिहरू, संयन्त्र र संरचना खारेज गर्ने पनि सहमति भएको छ ।
यो सहमतिले अक्टोबरमा हुने ११औँ महाधिवेशन र निर्वाचनलाई कुनै बाधा नपर्ने सहमति पत्रमा उल्लेख छ ।
|
ओलीकृत ‘सुलभ’ कतारमा विमोचन हुने काठमाडौं। शोभाराम ओलीद्वारा लिखित पुस्तक ‘सुलभ’ कतारमा विमोचन गरिने भएको छ। यही शुक्रबार कतारको दोहा सनैयास्थित फूलबारी रेस्टुरेन्टको सभाहलमा बिहान १० बजे ‘सुलभ’ विमोचन गरिने भएको हो।
दोहामा स्थापित संघसस्था, साहित्यकार, समालोचक तथा पाठकहरूको उपस्थितिमा ‘सुलभु विमोचन गरिनेछ। उक्त विमोचन कार्यक्रममा दोहामा रहेका सबैलाई उपस्थितिका लागि लेखक ओलीले आग्रह गरेका छन्।
एउटा परदेशी नेपाल छोडेर प्रदेश जान्छ। उसको क्षमताले भ्याउने देश। पहुँच न पुगे पनि पुग्नै पर्ने देश। सबैले हल्का सोच्ने देश अझ भनौँ खाडी मुलुकको कतार। खोइ कसरी हो ‘सुलभ’ अर्थात् लेखक शोभाराम ओली तन बोकेर आयो कतार आउँछन् तर लेखले मन भने नेपालमा छोडेका हुन्छन्।
‘सुलभ’को प्रदेश आउने सिलसिला खोइ कति बेला देखि शुरु भयो? ‘सुलभ’ यो प्रश्नको घेराबाट उम्किन कोशिश गर्छ र सम्झिन्छ बचपनका कुरा गाउँका सबै मान्छेहरु धन कमाउन भारत पसे जस्तै पुस्तकका पात्र ‘सुलभ’ मदन ल्हासा गए झैं कतार आइपुगेका हुन्छन्।
लेखक कतार आउनुको कारण धन कमाउने निश्चित उद्देश्यले मात्र थिएन ज्यान बचाउने उद्देश्य पनि थियो। त्यसबखत देशमा १० वर्षे गृहयुद्ध चलिरहेको हुन्छ।
उपन्यासकारले कथा लेख्न शुरु गर्छन्, कथाको शुरूवात छिमेकी मुलुक भारतबाट हुन्छ। कथा भूत, भविष्य र वर्तमान राजनीतिक घनचक्करका बीच समय बित्छ, त्यसभित्रका केही पात्रहरु भारतमै बसेपनि केही पात्रहरु भारत हुँदै नेपाल प्रवेश गर्छन्। उनकै जन्म थलोमा।
भारतबाट नेपाल प्रवेश गर्ने पात्र हुन् गोकुल, रुपलाल, कान्छीमाया र काले। उनका छिमेकी हुन्छन् फुरी लामा, टासी, डोल्मा आदी इत्यादी !
समयको मागले काले पात्र कमरेड तारा भएर गृहयुद्धमा होमिन्छ। सहयोद्धा कमरेड सरुसँग प्रेमपश्चात विवाह बन्धनमा बाँधिन्छन् युद्धको यात्रामा। विद्रोहीको नीति नास्तिक हुँदा उनका लड्ने सेनाहरु आस्तिक भए।
फलामे अनुशासनभित्र प्रेमका बिजहरु रोपिए, फक्रिए, फुले र फैलिए। फूलभित्र फल लाग्दै गर्दा फेरि निमोठिए ती फूलहरु। फूलाबिना उजाड देखिए रक्तिम प्रेमका बस्तीहरु। अझै यसरी भनौँ मदन बिना मुना एक्लिए जसरी।
एकातिर बम र बारुदको गर्जन हुँदा अर्कोतिर आनी र टावाहरु शान्तिको बिगुल फुक्न थाले गुम्बाहरुबाट। अन्ततस् शान्तिको जित भयो। परिवर्तनका किरणहरु बक्लिँदै थिए गाउँ, घर र बस्तीहरुमा। खोइ किन हो समय फेरि बद्लियो।
एकाएक हराए किरणहरु। झनै अँध्यारोले साम्राज्य जमाएपछि त कसको के जोर चल्ने रहेछ र! सुदूर गाउँको देहातमा रहेको संस्कृति, रहनसहनको माला हेर्दै जाँदा सम्झनाको क्यानभासमा कोरिन्छ फल लाग्दै गर्दा निमोठिएको फूल । अन्ततस् त्यही निमोठिएको फूलबाट ‘सुलभ’को जन्म हुन्छ।
यसरी जन्मिएको ‘सुलभ’भित्र देशमा चलेको दश वर्षे द्वन्द्व, बौद्ध दर्शन र प्रदेशका प्रस्वेद भावहरु बोकेर दोहामा स्थापित संघसस्था, साहित्यकार, समालोचक र पाठकहरूका बीच विमोचनको अन्तिम तयारीमा छ, सुलभ। |
नेपाल यूएईबीचको श्रम सम्झौता नवीकरण काठमाडौं। नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीच भएको श्रम सम्झौता नवीकरण भएको छ । काठमाडौंमा बुधबार बसेको उच्चस्तरीय संयुक्त समितिको बैठकले श्रम सम्झौता नवीकरण गरेको हो । सो क्रममा दुवै देशका उच्च श्रम अधिकारीहरुको सहभागिता थियो ।
चार वर्षअघि भएको सम्झौताको म्याद सकिने दिन बुधबार नै उच्चस्तरीय संयुक्त समितिको बैठक बसेर नवीकरण गरिएको हो । शून्य लागतमा श्रमिक जान पाउने गरी श्रम सम्झौता नवीकरण भएको छ ।
उक्त बैठकमा नेपालको तर्फबाट श्रम मन्त्रालयको रोजगार व्यवस्थापन महाशाखा प्रमुख राजीव पोखरेल र यूएईको तर्फबाटसमकक्षी अब्दुल्लह अली अलनुयमीले आ–आफ्नो देशको टोलीको नेतृत्व गरेका थिए ।
श्रम सम्झौताले रोजगारदाता पे मोडललाई स्वीकार गरेको छ भने सबै विदेशी श्रमिकलाई समान व्यवहार गर्ने, महिला श्रमिकको लागि श्रमिक कल्याण र सुरक्षाका विशेष उपायहरु सुनिश्चित गर्ने, राहदानीलगायत व्यक्तिगत परिचयसम्बन्धी कागजात श्रमिककै साथमा रहन पाउनेलगायतका विषय समेटिएको छ ।
यूएई पक्षले श्रमिक रोजगारविहीन भएमा तीन महिनासम्मको बेरोजगार भत्ता पाउने गरी श्रमिकको अनिवार्य २४ घण्टाको बिमा नीति लागु गरिएको जनाएको छ ।
|
जेन ट्राभल्ससँग सस्तोमा अमेरिकाबाट नेपाल यात्रा गर्नुहोस् जेन ट्राभल्स वाशिङ्टन डिसी २०२-५५२-१५०८ zentravels.com
वाशिङ्टन डिसी । यो गर्मीमा भाडा निकै महँगो भएको छ । यदि तपाइँ दशैं र तिहारको लागि नेपाल भ्रमण गर्ने योजनामा हुनुहुन्छ भने, कृपया तपाइँको टिकटहरू अहिले नै खरिद गर्नुहोस्। धेरैजसो सहरहरूको भाडा ११०० अमेरिकी डलरदेखि र १६७५ डलरसम्म (करसहित) को बीचमा हुनेछ।
यी मूल्यहरू आगामी दिनहरूमा बढ्ने अपेक्षा गरिएको छ र हामी तपाईंलाई सकेसम्म चाँडो आफ्नो सिट सुरक्षित गर्न प्रोत्साहन गर्छौं। न्यूनतम भाडा सुरक्षित गर्न लचिलोपन आवश्यक हुनेछ ।
नेपालको स्वास्थ्य मन्त्रालय र सूचना मन्त्रालयको जुन २, २०२३ को आधिकारिक वक्तव्यअनुसार अब अमेरिकी आगन्तुकहरूलाई नेपाल भ्रमण गर्न पीसीआर परीक्षण आवश्यक छैन। (मितिहरू जाँच गर्न आवश्यक छ)।
भाडा न्यूयोर्कबाट सस्तो र डलास, ह्युस्टन र मध्य राज्यहरूबाट महँगो छ। प्रत्येक एयरलाइन्सको छुट्टै भाडा छ र हामी हाम्रो कुराकानीको क्रममा तपाईंलाई सल्लाह दिनेछौं।
यहाँ दशैं र तिहारको सबैभन्दा महत्त्वपूर्ण मितिहरू सहितको क्यालेन्डर छ।
|
साउन १ देखि विदेशमा रहेका नेपालीको मतदाता नामावली संकलन गरिने काठमाडौं। निर्वाचन आयोगले आगामी १ साउनदेखि विदेशमा रहेका नेपालीको मतदाता नामावली संकलन गर्ने जानकारी दिएको छ ।
सोमबार बसेको राष्ट्रियसभाको राष्ट्रिय तथा समन्वय समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आगामी १ साउनदेखि विदेशमा रहेका नेपालको मतदाता नामावली संकलन गर्ने जानकारी दिएका हुन् ।
पहिलो चरणमा युनाइटेड अरब इमिरेट्स, कतार, मलेसियामा मतदाता नामावली संकलन गरिने उनले बताए । उनीहरुको बायोम्याट्रिकसहित मतदाता नामावली संकलन गरिनेछ ।
विदेशमा रहेका नेपालीले अनलाइनमार्फत नेपालमा आफ्नो स्थायी ठेगानामा मतदाता नामावली कायम हुने गरी प्रिरजिस्ट्रेसन भरेपछि कुटनीतिक नियोगमा पुगेर आफ्नो फोटो र औंठाछाप दिनुपर्नेछ । |
दौत्य सम्बन्ध कायम भएका मुलुकमा बैदेशीक रोजगार खुला गर्ने तयारी काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपालसँग दौत्य सम्बन्ध कायम भएका मुलुकमा बैदेशीक रोजगार खुला गर्ने तयारी भइरहेको जनाएको छ।
आइतबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा श्रम सचिव एक नारायण अर्यालले अहिले संस्थागत रुपमा १ सय ११ देशमा बैदेशीक रोजगारमा जाने गरेको र अन्य देशमा व्यक्तिगत हिसावमा रोजगारीका लागि जाने गरेको भन्दै दौत्य सम्बन्ध कायम भएका मुलुकमा बैदेशीक रोजगार खुला गर्ने योजनामा रहेको बताए।
विश्वबजारमा यसअघिका कुराहरु परिवर्तन भएको अवस्थामा नेपाल पनि परिवर्तित समय अनुसार चल्नुपर्ने उनले बताए। सचिव अर्यालले आजको इराकलाई पनि हेर्दै मागका आधारमा कामदार पठाउन सक्ने गरि गृह कार्य भइरहेको जानकारी दिए।
उनले माल्टा, क्रोयसिया लगायतका देशबाट हजारौंको संख्यामा दिनहु आउँदापनि नेपालको पहुँच नहुदा अर्को मुलुकबाट मात्रै कामदार जाने अवस्था आएकाले दुतावास भएको ठाउँमा दुतावासबाट प्रमाणीकरण र दुतावास नभएका स्थानका लागि बैदेशिक रोजगार बिभागको टिमबाट नै प्रमाणीकरण गर्ने व्यवस्था गर्न लागेको बताए।
औपचारिक माध्यमबाट वैदेशिक रोजगारबाट जान नसक्नेहरुले भिजिट भिसा, कन्सल्टेन्सी लगाएतको माध्यम प्रयोग गर्ने र यसका कारण ठगी र भविष्यमा हुनसक्ने जोखिम धेरै हुने भएकाले पनि औपचारिक रुपमा कामदार पठाउने गरि नै तयारी भइरहेको अर्यालले बताए।
पत्रकार सम्मेलनमा श्रम मन्त्री शरदसिंह भण्डारीले बदैशिक रोजगारीमा जानेहरुमाथि ठगी गर्ने क्रम नरोकिएकाले यस क्षेत्रलाई प्रभावकारी बनाउन टाक्स फोर्स नै गठन गरिएको बताए।
बैदेशिक रोजगारीमा पठाउने अन्य राष्ट्रको अध्ययन गरेर नेपालले पनि उचित नीति बनाउने उनको भनाइ छ। उनले श्रम बजारसम्म श्रमिकको सहज पहुँच स्थापित गर्दै वैदेशिक रोजगारीलाई व्यवस्थित तुल्याउन मन्त्रालय क्रियाशील रहेको दाबी गरे।
उनले तोकिएको मापदण्ड पालना नगर्ने वैदेशिक रोजगारदाता कम्पनीलाई कारबाहीको दायरामा ल्याइने पनि बताए। |
जर्मनी र रोमानियासँग श्रम सम्झौताको पहल हुँदै, श्रममन्त्री भन्छन्- वैदेशिक रोजगारका मुद्दा तत्काल सम्बोधन गर्छौं काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले श्रम र रोजगारसम्बन्धी जोडिएर आएका मुद्दा तदारुकताका साथ सम्बोधन गर्न मन्त्रालय कटिबद्ध रहेको बताएका छन्।
मन्त्रालयमा आज आयोजित पत्रकार भेटघाटमा उनले श्रम बजारसम्म श्रमिकको सहज पहुँच स्थापित गर्दै वैदेशिक रोजगारीलाई व्यवस्थित तुल्याउन मन्त्रालय क्रियाशील रहेको उल्लेख गरे।
मन्त्री भण्डारीले भने, “श्रम क्षेत्रको सुधारका लागि गरेको प्रतिबद्धताप्रति मन्त्रालय सजग छ, उठेका विषय सम्बोधन गर्न र लक्षित नतिजा हासिल गर्न हामी प्रयत्नशील छौँ । सेवा शुल्कबारे उठेका प्रश्न कार्यदलमार्फत सम्बोधन गरिनेछ ।”
स्थानीय तहसँगको सहकार्यमा श्रम क्षेत्रमा देखिएका चुनौतीलाई सम्बोधन गरिने बताउँदै उनले तोकिएको मापदण्ड पालना नगर्ने वैदेशिक रोजगारदाता कम्पनीलाई कारबाहीको दायरामा ल्याइने दृढता व्यक्त गरे।
नेपालसँग दौत्य सम्बन्ध स्थापना भएका मुलुकमा वैदेशिक रोजगारका लागि श्रमिक पठाउने विषयमा अध्ययन र गृहकार्य गर्न तत् तत् देशमा रहेका दूतावास र निगमलाई पहल र प्रयत्न गर्न सुझाव दिइएको पनि सो अवसरमा जानकारी दिइयो ।
मन्त्रालयका सचिव एकनारायण अर्यालले वैदेशिक रोजगार र श्रम क्षेत्रलाई व्यवस्थित एवं पारदर्शी गर्न नवीनतम प्रविधिको प्रयोगमा जोड दिइने बताए। सङ्घीयताको मर्म र भावनाअनुरूप सबै स्थानीय तहबाटै श्रमसम्बन्धी कार्य प्रभावकारी तुल्याइने बताउँदै उनले विगतका तुलनामा केही सुधारका कार्यक्रम अघि बढे पनि अझ थुप्रै काम गर्न पर्ने आवश्यकतामा जोड दिए।
वैदेशिक रोजगारी विभागका महानिर्देशक मदन राउतले सबै क्षेत्रका ठगीसम्बन्धी विषय विभागसँग जोडेर हेर्ने प्रवृत्तिले पनि यस क्षेत्रलाई थप बदनाम तुल्याएको बताए। मन्त्रालयका सहसचिव राजिव पोखरेलले वैदेशिक रोजगार र श्रम क्षेत्रमा देखिएका विकृति र विसङ्गतिलाई रोक्न निकट भविष्यमै टिम बनाएर कार्य प्रारम्भ गर्ने विश्वास दिलाए।
वैदेशिक रोजगारमा रहेकालाई सामाजिक सुरक्षामा समावेश गर्ने घटना निकै महत्त्वपूर्ण रहेको जनाउँदै मन्त्रालयले त्यसमा हालसम्म एक लाख ३० हजार सामेल भइसकेको जानकारी दिएको छ ।
सो अवसरमा रोजगारीमा जान लागेका व्यक्तिलाई प्रवेशाज्ञाको अवधिका आधारमा श्रम स्वीकृत दिन उपयुक्त हुने अध्ययनले देखाएको जानकारी दिइयो । नेपालले निकट भविष्यमै जर्मनी र रोमानियासँग पनि श्रम सम्झौताका लागि पहल भइरहेको जानकारी दिइयो । |
नाइल नदीको किनारामा विद्यार्थीले कोरे हिमालका चित्र काठमाडाैं। विश्व वातावरण दिवसका अवसरमा नेपाली राजदूतावास, कायरोको आयोजनामा एक चित्रकला प्रतियोगिता सम्पन्न भएको छ। “जलवायु परिवर्तन र हिमालय” शीर्षकमा उक्त प्रतियोगिता इजिप्टको राजधानी कायरोमा शनिबार आयोजना गरिएको थियो।
प्रतियोगितामा पाकिस्तान इन्टरनेशनल स्कुल, आइरिश इन्टरनेशनल स्कुल, माआदी ब्रिटिश इन्टरनेशनल स्कुल, कायरो अमेरिकन कलेज तथा नासेर प्राइभेट स्कुलमा अध्ययनरत विभिन्न मुलुकका दर्जनौँ विद्यार्थीको सहभागिता रहेको दूतावासले जनाएको छ।
कार्यक्रममा पाकिस्तान इन्टरनेशनल स्कुलका प्रिन्सिपल सैयद तोसेफ हुसैन बोखारीले चित्रकला प्रतियोगिता आयोजना गरेकामा राजदूतावासलाई धन्यवाद दिँदै यस्ता अतिरिक्त क्रियाकलापमा हुने सहभागिताले विद्यार्थीमा लुकेको प्रतिभा प्रस्फुटन हुने धारणा व्यक्त गरे।
प्रतियोगताले विद्यार्थीलाई अवसर प्राप्त भएको उल्लेख गर्दै उनीहरूले जलवायु परीवर्तनका असरबाट विश्वलाई जोगाउन मानवले चाल्नुपर्ने कदमका विषयमा समाजका साथै विश्वलाई सन्देश दिनसक्ने उनको भनाइ थियो।
प्रतियोगितामा जमाल खाँनले नेपालका हिमालहरू नेपालका मात्र नभइ विश्वकै उत्कृष्ट प्राकृतिक धरोहरका रूपमा रहेकाले भावी पुस्ताको जीवनसँग जोडिएका यस्ता धरोहरलाई जलवायु परिवर्तनको असरबाट जोगाउनुपर्नेमा जोड दिए।
त्यसैगरी, प्रतियोगितामा सहभागी विद्यार्थीका अभिभावक राना खालिदले नेपालका हिमाल पर्यटनका दृष्टिकोणले विश्वमै उत्कृष्ट जानकारी दिए। उहाँले साहसिक पर्यटनका लागि इजिप्टका युवा पुस्तामा आकर्षण बढ्दै गएकाले भविष्यमा इजिप्सियन युवाको प्रमुख गन्तव्यको रूपमा नेपाल रहने कुरामा आफू विश्वस्त रहेको उल्लेख गरे।
अरब गणतन्त्र इजिप्टका लागि नेपालका महामहिम राजदूत सुशीलकुमार लम्सालले उक्त प्रतियोगितामा सहभागी हुने स्कुललाई सहभागिताका लागि धन्यवाद दिएका थिए।
उनले प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीलाई पदक दिँदै सहभागी सबै विद्यार्थीलाई प्रमाणपत्र र नेपालको हिमाल अंकित मायाको चिनो प्रदान गरेका थिए। प्रतियोगितामा पाकिस्तान इन्टरनेशनल स्कुलमा अध्ययनरत युन्जिया झाङले प्रथम स्थान हासिल गरेका थिए। रासस |
एनआरएनएमा ‘एकता महाधिवेशन’ गर्न शेष घले तयार काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष शेष घले र बहालवाला महासचिव गौरीराज जोशीबीच भेटवार्ता भएको छ ।
अमेरिका भम्रणमा रहेका घले र जोशीबीच टेक्सासमा भेटवार्ता भएको हो। भेटमा संघलाई अब एक ढिक्का बनाउने विषयमा कुराकानी भएको छ ।
१० औं महाधिवेशनका बेला विवाद भएपछि घलेले कोरियाका विनोद कुवँरको नेतृत्वमा छुट्टै ‘एनआरएनए’ को घोषणा गरेका थिए। त्यसयता उनको संस्थापन पक्षसँग सम्बन्ध ‘चिसिए’को थियो ।
घलेले केही दिनअघि मात्र क्यानाडामा आफ्नो पक्षको सम्मेलन गरेका थिए। टोरोन्टोमा दुई दिने सम्मेलन सकाएर उनी अमेरिकी भम्रणमा निस्केका हुन् ।
भेटमा महासचिव जोशीले विगतका तिता–मीठा कुरालाई बिर्सिएर अव एकताको विकल्प नरहेको बताउँदै यसका लागि सकारात्मक भुमिका निर्वाह गर्न घलेलाई आग्रह गरेका थिए । जवाफमा घलेले आफू एकता विरोधी नभएको बताउँदै संघलाई एक ढिक्का बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
घलेले आगामी महाधिवेशनको विषयमा पनि महासचिव जोशीसँग चासो राखेका थिए। घलेले सबै पंञ्जीकृत सदस्यलाई मतादानको अधिकार दिनुपर्ने अडान राखेका थिए । सम्मेलन प्रत्यक्ष र अनलाइन दुवै माध्यमबाट हुनेभएपछि सबै सदस्यलाई भोट हाल्ने व्यवस्था मिलाउन उनले जोड दिएका थिए ।
घलेले विगतको अधिवेशनको कुरा उठाउँदै त्यसबेला आफूले पाएको जिम्मेवारी पूरा मात्र गरेको बताउँदै संघ फुटाउन आफूमाथि लागेको आरोपको बचाउ गरेका थिए । घलेले विधानविपरीत जाने छुट कसैलाई नभएको बताएका थिए ।
आगामी महाधिवेशन एकताको महाधिवेशन गर्नुपर्ने जोशीको आग्रहमा घलेले आफूले भरपूर सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । |
नयाँ व्यवस्था अनुसार विदेशबाट फर्कँदा के-के ल्याउन पाइन्छ? के मा भन्सार तिर्नुपर्छ? काठमाडौं। सरकारले झिटीगुण्टा सम्बन्धी सूचना नियमावली संशोधन गरेसँगै विदेशबाट नेपाल फर्किदा यात्रुले आफ्नो साथमा ल्याउन पाउने सामानहरुबारे भन्सार विभागले नयाँ व्यवस्था लागू गरेको छ।
जसमध्ये महिलाको हकमा ५० ग्राम र पुरुषको हकमा भने २५ ग्राम सुन ल्याउँदा भन्सार तिर्न नपर्ने व्यवस्था रहेको छ । यस बाहेक २ सय ग्रामसम्मको गहना भन्सार महसुल तिरेर ल्याउन पाउने व्यवस्था रहेको छ ।
तर गहनाको आकार दिएर बनाएको बेरुवा औठी, बाला, सिक्रि जस्ता रसायन प्रयोग नगरेका सुनलाई भने गहनाको मान्यता नदिने उल्लेख गरिएको छ ।
यसैगरी विदेशबाट फर्कने नेपाली यात्रुले आफूले प्रयोग गरिरहेको मोबाइल साथमा ल्याउँदा भन्सार तिर्नुपर्दैन । श्रम स्वीकृति लिएर लगातार ६ महिनाभन्दा बढी विदेशमा काम गरी फर्केका यात्रुहरुले आफ्नो साथमा थप एक थान मोबाइल भन्सार नतिरी ल्याउन पाउनेछन् ।
तर यस्तो मोबाइलका लागि भन्सार कार्यालयमा घोषणा गरी भन्सार प्रक्रिया भने पूरा गर्नुपर्ने हुन्छ ।
श्रम स्वीकृति लिई लगातार १२ महिना काम गरी फर्कने सामाजिक सुरक्षा कोषमा सूचीकृत भएको नेपाली यात्रुले जुनसुकै आकार वा प्रकारको टेलिभिजन साथमा ल्याउँदा भन्सार तिर्नुपर्दैन ।
तर श्रम स्वीकृति लिई लगातार १२ महिना काम गरी फर्केको भए पनि सामाजिक सुरक्षा कोषमा सूचिकृत नभएका नेपाली यात्रुले भने ३२ इन्चसम्मको टेलिभिजन मात्र भन्सार नतिरी साथमा ल्याउन पाउँछन् । यसबाहेक अन्य अवस्थामा जुनसुकै टेलिभिजनमा नियमानुसारको महसुल भन्सार तिर्नुपर्ने हुन्छ ।
|
कास्कीका गोकर्ण कार्की बने एसियाका ‘योङ इन्टरप्रेन्योर अफ द इयर’ काठमाडौं। कास्कीका गोकर्ण कार्की आइकन अफ एसिया अवार्डमा ‘योङ इन्टरप्रेन्योर अफ द इयर २०२३’ घोषित भएका छन् ।
ग्लोबल एम्पायर इभेन्ट्स र बिजनेसन टिभीको संयुक्त आयोजनामा दुबईमा भएको कार्यक्रममा कार्की उक्त अवार्डबाट सम्मानित भएका हुन् । उनलाई ग्लोबल एम्पायर र बिजनेसनका प्रबन्ध निर्देशक उदयवीर सिंह बिन्द्राले सम्मान गरेका हुन् ।
पोखराको भलाम घर भएका कार्की सानै उमेरदेखि व्यवसायमा सक्रिय हुँदै आएका थिए । उनले हाल पोखराको न्युरोडमा सिटि जिम र बगरमा कम्प्लिट कम्प्युटर सेवा सन्चालन गर्दै आएका छन् । |
गैर आवासीय नेपालीले नागरिकता पाउने निर्णय स्वागतयोग्य : आनन्द विष्ट काठमाडौं। गैर आवासीय नेपालीहरूले नागरिकता पाउने बाटो खुलेसँगै नेपाली जनसम्पर्क समिति अमेरिकाले स्वागत गरेको छ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले रोकेको नागरिकता ऐनको संशोधन विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेसँगै गैर आवासीय नेपाली नागरिकता पाउने भएका हुन्।
अब नेपाली नागरिकता त्यागेर विदेशमा बसेका व्यक्तिले आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार पाउनेछन्। गैर आवासीय नागरिकता दक्षिण एसियाबाहेक अरू देशमा बसोबास गर्नेले मात्र पाउने छन्। गैर आवासीय नागरिकता पाउन पाँच वटा प्रमाण निवेदनसाथ बुझाउनुपर्ने छ।
यो विधेयक पास भएसँगै नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्ट एक विज्ञप्ति जारी गर्दै स्वागत गरेका हुन्।
सभापति विष्टले विधेयक प्रमाणीकरणसँगै विदेशमा रहेका आम नेपालीले उठाउँदै आएको गैर आवासीय नेपाली नागरिकताको अधिकारको सुनिश्चितता भएको साथै विदेशमा बस्ने नेपालीको हक, अधिकार तथा सदैव नेपाली हुने कानुनी आधारका लागि समेत बाटो खुलेको बताएका छन्। नेपालको संविधान २०७२ ले प्रत्याभूत गरेको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको गैर आवासीय नेपाली नागरिकता प्राप्त गर्ने प्रक्रियाको लागि ऐतिहासिक उपलब्धिको दिन भएको विष्टले उल्लेख गरेका छन्।
‘भूगोलमा जहाँ रहे पनि सबैभन्दा पहिले हामी नेपाली हौं। हाम्रो हक, अधिकारको सुनिश्चितता गर्ने पहिलो जिम्मेवारी नेपाल सरकारको हो। यसका लागि विश्वभर छरिएर रहेका आम नेपाली जनसम्पर्क समितिका सदस्य र गैर आवासीय नेपाली संघले निरन्तर आवाज उठाउँदै आएको जगजाहेर नै छ। हाम्रो निरन्तरको सामूहिक अनुरोध र संगठित आवाजलाई आज हाम्रो मातृभूमिको सरकारले सुनेको छ। यसका लागि हामी हाम्रो मातृपार्टी नेपाली कांग्रेसको नेतृत्व र संसदमा रहेका माननीयज्यू सबैलाई एकमुष्ट धन्यवाद दिन चाहन्छौं,’ उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
यसैगरी यस विधेयकका पक्षमा उभिने सबै राजनीतिक दलका नेता र प्रतिनिधि सभा एवं राष्ट्रिय सभाका माननीयप्रति पनि विष्टले आभार व्यक्त गरेका छन्।
‘विधेयकलाई प्रमाणीकरणका लागि पहलकदमी लिने वर्तमान नेपाली कांग्रेससहितको गठबन्धन सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल र सिंगो मन्त्रीपरिषद्लाई विशेष धन्यवाद दिन चाहन्छौं। साथै प्रमाणीकरण भैसकेको यो विधेयकलाई अब तत्काल कार्यान्वयनका लागि आवश्यक नियमावली बनाउनेलगायतका अन्य सरोकारका काम नेपाल सरकारबाट तत्काल सुरु हुनेछ भन्ने अपेक्षासहित प्रक्रिया अघि बढाउन अनुरोध समेत गर्दछौं। यसका साथै हामी विदेशमा रहेका आफ्ना नेपाली नागरिकलाई मताधिकार दिने बारे सर्वोच्च अदालतले गरेको निर्णय तत्काल कार्यान्वयन गर्दै अधिकारको सुनिश्चितता गर्नका लागि नेपाल सरकारको ध्यानाकर्षण समेत गराउन चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ।
|
भारतको हरिद्वारबाट स्याङ्जाका ७० वर्षीय वृद्ध वेपत्ता, खोजी गरिदिन अपिल नयाँ दिल्ली। पुतली बजार नगरपालिका-१ , स्याङ्जा निवासी ७० वर्षीय डोलराज रेग्मी १० दिनदेखि भारतको उत्तरखंड राज्यको हरिद्वारबाट हराएका छन्।
चारधाम दर्शनको लागि २१ जनाको समूह नेपालबाट हिँडेको थियो। १७ मई २०२३ को हिँडेर १९ मई २०२३ मा साे समूह हरिद्वार पुगेको यात्रु लिएर आउने मोहन आचार्यले बताए।
१९ मई २०२३ को करिव ११ बजेको मन्सादेवी दर्शनको लागि केवलकारको टिकट काट्ने समयमा ७० वर्षीय डोलराज रेग्मी र उनकी धर्मपत्नी बेलकुमारी रेग्मी समूहबाट छुटेको आचार्यले बताए।
उनीहरू सम्पर्कविहीन भएकाे थाहा पाएपछि छोरा प्रकाश रेग्मी, प्रवासी नेपली संघ भारतका केन्द्रीय सदस्य भतिज जुद्द जीटी लगायत छ जनाको टोली २५ मईको हरिद्वार पुगेर खोजी गर्दा २७ मईको पथरी थाना, जनपथ हरिद्वारबाट पत्नी बेलकुमारी रेग्मी सकुसल फेला परेकाे तर पती डाेलराज भने बेपत्ता भएका हुन्।
पथरी थाना, जनपथ हरिद्वार प्रहरी थानामा हराएको रिपोर्ट लेखाइएको छ। हरिद्वार र ऋषिकेशमा प्रहरीले खोजतलास जारी राखेको छ। सिसी टिभी फुटेजबाट निगरानी गरिएकाे छ। तर अहिलेसम्म ७० वर्षीय डोलराज रेग्मी सम्पर्कमा आएका छैनन्।
छोरा प्रकाश रेग्मी र प्रवासी नेपली संघ भारतका केन्द्रीय सदस्य भतिज जुद्द जीटी भारतमा रहेका नेपाली संघ संस्था विशेष गरि हरिद्वार उत्तरखंडमा कार्यरत समाजसेवी तथा संघ संस्थालाइ खोजी गरिदिन अपिल गरेका छन्।
खैरो टिसर्ट, नेपाली पाइन्ट लगाएका, उमेर ७० र नाम डोलराज रेग्मी बताउने वृद्ध कतै फेला परेमा ९८४७०६०७७०, ९८५७०२३५८८ (नेपाल), ९८७१७१६४, ७९८०८३५९५५ (भारत) मा सम्पर्क तथा नजिकको प्रहरी कर्यालयमा सम्पर्क गरिदिन परिवारले अपिल गरेकाे छ। |
जर्मनीमा मनाइयो साकेला जर्मनी। जर्मनीको फ्रयांकफर्टमा आइतबार किराँतराई समुदायले उभौली पर्व अर्थात साकेला भव्यताका साथ मनाएका छन्। किरात राई समुदायले आफ्ना मौलिक संस्कार तथा संस्कृतिलाई पुस्ता हस्तान्तरण गर्दै जाने माध्यमका रुपमा साकेला मनाउँदै आएका छन्।
गर्मी मौसम सुरु भएपछि गर्मी छल्न लेक चढ्ने र जाडो मौसम सुरुभएसँगै जाडो छल्न बेंसी झर्ने आफ्ना पितृहरुको सम्झनामा साकेला मनाउने गरिन्छ। बाली नाली लगाउने बेलाको उँभौली र भित्र्याउने बेलाको उधौली गरी वर्षमा दुई पटक साकेला मनाउने गरिन्छ।
विदेशमा रहेपनि आफ्नो संस्कार र रीतिलाई निरन्तरता दिने उद्देश्यले आयोजना भएको कार्यक्रमका बेल्जियम, नेदरल्याण्ड, चेक रिपल्बिक लगायत युरोपका विभिन्न छिमेकी देशहरुबाट गरी करिब २ सय ५० सहभागी रहेका थिए।
कार्यक्रममा गैर आवासीय नेपाली संघका पूर्व अध्यक्ष जीवा लामिछाने, अर्का पूर्व अध्यक्ष कुमार पन्त, एनआरएनए जर्मनीका कार्यसमिति सदस्यहरु, विभिन्न राजनीतिक दलका विदेश स्थित भातृसंगठनका प्रतिनिधिहरु, जर्मनीका विभिन्न सहरबाट आएका नेपाली समुदाय साकेला नाचमा झुमेका थिए।
नेपाल बहुभाषी, बहुसंस्कृति, बहुजातीय समुदाय भएको भन्दै सदियौ देखि मिलेर बसेका नेपालीले विदेशमा पनि भाइचारालाई निरन्तरता दिएकोमा आयोजकलाई उपस्थितहरुले बधाइ दिएका थिए।
एलसिसी हेसनका संयोजक ज्योती राइले बिशेष गरी नेपाली नेपालीहरुले यस प्रकारका कार्यक्रमबाट एकले अर्केलााई चीनजान गर्ने अवसर मिल्ने हुनाले पनि आयोजना गर्न पाउँदा खुशी लागेको बताए।
कार्यक्रममा सबै जातजातीहरु सहभागी सहयोग रहेकोमा खुशी ब्यक्त गर्दै आगामी दिनमा अझ ब्यबस्थित तरिकाले आयोजना गरी यसलाई निरन्तरता दिने आयोजक निनाम्मा राई ले बताइन्।
|
पोर्चुगलमा राहदानी शिविरबाट पाँच करोड राजस्व संकलन लिस्बन। पोर्चुगलमा राहदानीलगायत विभिन्न समस्यामा रहेका नेपालीलाई लक्षित गरी सञ्चालन गरिएको राहदानी सेवा शिविरबाट रु पाँच करोड २२ लाख राजस्व संकलन भएको छ।
राजधानी लिस्बनमा करिब एक महिनासम्म सञ्चालन भएको उक्त शिविरबाट सो राजस्व संकलन भएको पोर्चुगलका लागि गैर आवासीय नेपाली राजदूत तथा फ्रान्सका लागि नेपाली राजदूत दीपक अधिकारीले जानकारी दिए।
शिविरबाट दुई हजार तीन सय आठ नेपालीले प्रत्यक्ष दर्ता प्रणालीमार्फत विद्युतीय राहदानी (ई-पासपोर्ट) का लागि आवेदन दिएका थिए। राहदानी तयार भए पछि अवैतनिक नेपाली महावाणिज्य दूतावास लिस्बनमार्फत सम्बन्धित व्यक्तिलाई उपलब्ध गराइनेछ।
राहदानी विभागकी शाखा अधिकृत रञ्जिता दाहाल नेतृत्वको प्राविधिकसहितको टोलीले लिस्बनस्थित अवैतनिक नेपाली महावाणिज्य दूतावासको समन्वय र सहजीकरणमा राहदानी सेवा प्रदान गरेको हो। टोलीमा फ्रान्सको पेरिसस्थित नेपाली राजदूतावासका प्रतिनिधिको समेत सहभागिता रहेको थियो।
गत मार्च २९ देखि अप्रिल २५ तारिखसम्म सञ्चालन भएको शिविरबाट टोलीले राहदानीको म्याद सकिएको, क्षति भएको, हराएको, नष्ट भएको र पोर्चुगलमा जन्मेका नेपालीको राहदानी बनाउनका लागि आवेदन फारम संकलन गरेको थियो।
परराष्ट्र मन्त्रालयले राहदानी नै नभएका र कागजातसम्बन्धी समस्यामा परेका नेपालीका लागि विशेष व्यवस्था गरेर पोर्चुगलमा शिविर सञ्चालन गरेको र शिविरबाट समस्यामा परेका अधिकांश नेपाली लाभान्वित भएको राजदूत अधिकारीले बताए।
“पछिल्लो समय विभिन्न मुलुक हुँदै युरोप आएका अधिकांश नेपाली पोर्चुगल पस्ने गरेका छन्। त्यसरी पोर्चुगल छिर्ने नेपालीले राहदानी सुरक्षित गर्न नसक्दा त्यहां राहदानीलगायतका कागजातसम्बन्धी समस्या बढ्दै गएको हो”, उनले भने, “विदेशी मुलुकमा राहदानीबिना कुनै पनि कागजी प्रक्रिया सम्भव नै छैन, अझै दूतावास नै नभएका ठाउँमा त झनै समस्या हुन्छ, त्यसैले राहदानी सुरक्षित राख्नका लागि आफैँले सतर्कता र सावधानी अपनाउनुपर्छ।”
विद्युतीय राहदानी बनाउन प्राविधिकरुपमा खर्चिलो र झन्झटिलो हुने भएकाले पटक-पटक टोली आउन सम्भव नरहेको उल्लेख गर्दै उनले राहदानीलाई सुरक्षितरुपमा जतन गरेर राख्न सुझाव दिए। रासस |
एनआरएनए मलेसियाका सचिव नारायण अधिकारी ‘हापा अवार्ड’ बाट सम्मानित मलेसिया। गैर आवासीय नेपाली संघ एनआरएनए मलेसियाका सचिव नारायण अधिकारी मलेसियाको हस्पिटालिटि क्षेत्रको सर्वश्रेस्ठ अवार्ड हापा अवार्डबाट सम्मानित भएका छन ।
हालै मलेसियामा आयोजित एक कार्यक्रममा एनआरएनए मलेसियाका सचिव अधिकारीलाई मलेसियाको हस्पिटालिटि क्षेत्रको सर्वश्रेस्ठ अवार्ड हापा अवार्ड २०२३ बाट सम्मानित गरिएको हो ।
हालै आयोजित एक कार्यक्रमका बीच रक क्याफे एन्ड बार,रक बटम एन्ड बार र ओलिभ किचन एन्ड बारका सिनियर मेनेजर अधिकारीलाई उक्त सम्मानबाट सम्मानित गरिएको हो ।
मलेसियाको हस्पिटालिटि क्षेत्रको सबैभन्दा ठुलो अवार्ड हाफा अवार्ड अधिकारीले मलेसियामा पर्यटन व्यवसायको पर्वर्दन र हस्पिटालिटि क्षेत्रमा गरेको विशेष योगदानका कारण उनलाई उक्त सम्मानबाट सम्मानित गरिएको हो ।
दुई दशकभन्दा लामो समयदेखि होटल तथा हस्पिटालिटि क्षेत्रमा आबद्ध अधिकारी यसअघि पनि यस्ता आधा दर्जनभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार तथा सम्मानद्वारा सम्मानित भइसकेका छन ।
हाफाले हरेक बर्ष आयोजना गर्ने यस कार्यक्रमका लागी मलेसियाभरका होटल,रेस्टुरेन्ट,ट्राभल्स लगाएत हस्पिटालिटि क्षेत्रमा आबद्ध ब्यावसायीहरुले सहभागी जनाउने गरेका छन ।
हापा अवार्डद्वारा सम्मानित भएपछि खुशी ब्यक्त गर्दै एनआरएनए मलेसियाका सचिव अधिकारीले आफूले गरेको मेहनतको फल प्राप्त गरेकोमा खुशी ब्यक्त गरे ।
उक्त अवार्डबाट सम्मानित हुने अधिकारी पहिलो नेपाली रहेका छन् ।
|
युएइमा नेपाली युवाले १ करोड ८० लाख रुपैयाँ जिते काठमाडौं । युएइमा एक नेपाली युवाले ५ लाख दिराम (१ करोड ८० लाख रुपैयाँ) जितेका छन् । उनले राफल ड्र क्याम्पेनमा यति ठूलो रकम जितेका हुन् । इड उल फित्रको अवसरमा यो राफल ड्र क्याम्पेनको विजेता घोषणा गरिएको हो ।
यो ड्र ‘शप एण्ड विन’ प्लेटफर्म आइडियल्ज र विश्वव्यापी मनी ट्रान्सफर अपरेटर इन्स्ट्यान्ट क्यासले संयुक्त रुपमा आयोजना गरेका हुन् । अबु धाबीमा बसेर क्लर्कको रुपमा काम गरिरहेका नेपाली युवा शम्भु कुमार महतोले यो पुरस्कार जितेका हुन् ।
दुबइ आउटलेट मलमा आयोजना गरिएको र त्यहाँको समा दुबइ टिभीले प्रत्यक्ष प्रसारण गरेको दुबइ फेस्टिभल एण्ड रिटेल इस्टाब्लिसमेन्ट्समा उनको नाम भाग्यशाली विजेताको रुपमा छानिएको हो । महतोले विगत १५ वर्षदेखि यस्तो पुरस्कार जित्ने प्रयास गरिरहेका थिए तर सफल हुन सकेका थिएनन् । |
१४ बुँदे घोषणापत्र जारी गर्दै सकियो एनआरएनए यूरोपेली सम्मेलन (घोषणापत्रसहित) प्राग। गैरआवासीय नेपाली संघ (एनआरएनए)को १५ औँ क्षेत्रीय सम्मेलन १४ बुँदे प्राग घोषणापत्र जारी गर्दै समापन भएको छ। चेक रिपब्लिकको राजधानी प्रागमा ५, ६ र ७ मेमा ३ दिनसम्म चलेको सम्मेलनले १४ बुँदे प्राग घोषणापत्र जारी गरेको छ।
सम्मेलनमा प्रमुख अतिथिको रुपमा परराष्ट्रमन्त्री नारायण प्रकाश (एनपी) साउद, विशिष्ट अतिथिको रुपमा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ, नेपाली कांग्रेसको संसदीय दलका प्रमुख सचेतक रमेश लेखक, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झा, नेकपा माओवादीका नेता तथा संविधान सभा सदस्य खिमलाल देवकोटा लगायतको विशेष उपस्थिति थियो।
सम्मेलनमा भएका विभिन्न सत्रमा उपस्थित प्रतिनिधिहरु स्मार्ट एनआरएनए, सदस्यता वितरण, निर्वाचन प्रकृया, एनआरएनए विधान र राष्ट्रिय समन्वय परिषद्हरु बीचको सञ्जालको बारेमा छलफल भयो।
सम्मेलनमा राष्ट्रिय समन्वय परिषद्को प्रतिवेदन, महिला सम्मेलन, एनआरएनबीचको ब्यापक एकता (मिलाप), एनआरएनए मेघा प्रोजेक्ट, नेपाल प्रवर्द्धन, १० अर्ब लगानी, नेपाली नागरिकताको निरन्तरता, प्रवासबाट मतदानको अधिकार, सामाजिक सुरक्षा कोष, सीप, ज्ञान तथा प्रविधि हस्तान्तरण लगायतका विषयमा समेत व्यापक छलफल भयो।
विश्वका ३९ देशका करिब ३०० प्रतिनिधिहरु सहभागी भएको सम्मेलनमा उपस्थित प्रतिनिधिहरुको सुझावका आधारमा प्राग घोषणापत्र जारी गरिएको हो।
प्राग घोषणापत्र
५, ६ र ७ मे २०२३, चेक रिपब्लिक
गैरआवासीय नेपाली संघ (एनआरएनए) को १५ औँ क्षेत्रीय सम्मेलन चेक रिपब्लिकको राजधानी प्रागमा मे ५, ६ र ७, २०२३ मा भब्यरुपमा सम्पन्न भयो । ३ दिनसम्म चलेको सम्मेलनमा प्रमुख अतिथिको रुपमा माननीय परराष्ट्रमन्त्री नारायण प्रकाश (एन पी) साउद, विशिष्ट अतिथिकोरुपमा संविधानसभाका अध्यक्ष माननीय सुवास नेम्वाङ, नेपाली कांग्रेसको संसदीय दलका प्रमुख सचेतक माननीय रमेश लेखक, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद माननीय मनिष झा, नेकपा माओवादीका नेता तथा संबिधान सभा सदस्य खिमलाल देवकोटा लगायतको विशेष उपस्थिति थियो । सम्मेलनमा भएका विभिन्न सत्रमा उपस्थित प्रतिनिधिहरु स्मार्ट एनआरएनए, सदस्यता वितरण, निर्वाचन प्रकृया, एनआरएनए विधान र राष्ट्रिय समन्वय परिषद्हरु बीचको सञ्जालको बारेमा छलफल भयो । सम्मेलनमा राष्ट्रिय समन्वय परिषद्को प्रतिवेदन, महिला सम्मेलन, एनआरएनबीचको ब्यापक एकता (मिलाप), एनआरएनए मेघा प्रोजेक्ट, नेपाल प्रबर्धन, १० अर्ब लगानी, नेपाली नागरिकताको निरन्तरता, प्रवासबाट मतदानको अधिकार, सामाजिक सुरक्षा कोष, सीप, ज्ञान तथा प्रविधि हस्तान्तरण लगायतका विषयमा समेत व्यापक छलफल भयो । सम्मेलनमा विश्वका ३९ देशका करिब ३ सय प्रतिनिधिहरु सहभागी भएको सम्मेलनमा उपस्थित प्रतिनिधिहरुको सुझावका आधारमा निम्नानुसारको प्राग घोषणापत्र जारी गरिएको छ ।
१) नयाँ संविधानले गैरआवासीय नेपालीका लागि गैरआवासीय नेपाली नागरिकता प्रदान गर्ने व्यवस्था गरेपनि संविधान जारी भएको झन्डै ८ वर्ष पछि पनि अझै कार्यान्वयन नभएको अवस्थामा आम गैरआवासीय नेपालीहरुको चासो रहेको नागरिकता सम्बन्धी विधेयकलाई अघि बढाई तत्काल गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनमा ल्याउन यो सम्मेलन नेपाल सरकार समक्ष हार्दिक अनुरोध गर्दछ ।
२) गैर आवासीय नेपाली संघको दशौ महाधिवेशन पश्चात समानान्तर गतिविधि गरि रहेका एनआरएनहरुलाइ हाल भैरहेको बार्ताका माध्यम बाट मुलधारमा समाहित भई एकताको एघारौ महाधिवेशनमा सहभागी हुन यो सम्मेलन हार्दिक अपिल गर्दछ ।
३) विदेशमा रहेका नेपालीहरूको पैतृक सम्पत्तिको अधिकारलाई सुनिश्चित गर्दै आवश्यक कानुनी व्यवस्था गर्न नेपाल सरकार र राजनीतिक दलहरुसँग यो सम्मेलन अनुरोध गर्दछ । विदेशमा बसोबास गर्ने नेपाली नागरिकहरुले नेपालको निर्वाचनमा भाग लिन पाउने, मतदान गर्न पाउने अधिकार (मताधिकार) सुनिश्चित गर्न सम्मानित सर्वोच्च अदालतले समेत निर्देशनात्मक आदेश जारी गरिसकेको परिप्रेक्षमा तत्काल प्रक्रिया मिलाई विदेशमा बस्ने नेपालीहरुको मताधिकार सुनिश्चित गर्न यो सम्मेलन नेपाल सरकारसँग माग गर्दछ ।
४) आगामी अक्टोबर ९ देखि ११, २०२३, सम्म काठमाण्डौंमा हुने संघको ११ औँ महाधिवेशन तथा विश्व सम्मेलनलाई भव्य रुपमा सम्पन्न गर्नको लागि संघको सदस्यता संघले तय गरेको MIS System मार्फत वितरणलाई तीव्र बनाउनको लागि युरोपस्थित सबै राष्ट्रिय समन्वय परिषद्हरुलाई यो सम्मेलन हार्दिक अपिल गर्दछ ।
५) युवा तथा महिलाहरुको सामाजिक उद्यमशीलता अभिवृद्धिका लागि आवश्यक सहयोग गर्ने, महिला फोरम र युवाहरुको सक्रियतामा सुरु भएको सीप विकास तालिमलाई निरन्तरता दिने र गैरआवासीय नेपाली अभियानको हरेक क्षेत्रमा महिला तथा युवाहरुको सहभागिता सुनिश्चित गराउन यो सम्मेलन पुनः प्रतिबद्धता व्यक्त गर्दै संघको मेघा प्रोजेक्टहरुलाई सफलतापूर्बक अघि बढाउनुको लागि सडक बालबालिका, पढ्दै कमाउंदै जस्ता कार्यक्रमहरु लक्षित समुदायमा शिघ्र शुरु गर्ने प्रतिबद्धता जनाउंदछ ।
६) एनआरएन नेपाल डेभलपमेन्ट फण्डलाई रु १० अर्बबाट रू ५० अर्ब बनाउने लक्ष्यको साथ समृद्ध नेपाल निर्माणमा थप टेवा पुर्याउन यो सम्मेलन आह्वान गर्दछ । विद्यमान कानूनी अड्चनहरुलाई सम्बोधन गर्दै यसमा सहभागीताको लागि आम गैरआवासीय नेपालीहरुलाई आह्वान गर्दै शिघ्र कार्यान्वयनमा ल्याउन यो सम्मेलन मार्फत प्रतिबद्धता जनाउंदछ । सो फण्डमा जोडिन चाहने गैरआवासीय नेपालीहरुको लागि यसअघि तोकिएको २५ लाख रुपैयाँ न्यूनतम सिलिङलाई घटाएर २५० डलर मात्र कायम गरिएको छ ।
७) नेपालका हवाइ कम्पनीहरुलाई युरोपेली संघ (इयू) को कालोसूचीबाट हटाउन पहल गरी नेपालबाट हुने हवाई सेवा यूरोपसम्म विस्तार गर्ने वातावरण बनाउन र युरोपबाट नेपालसँग सिधा हवाई उडान जोड्न नेपाल सरकारलाई आग्रह गर्दछ।
८) नेपाली दूतावास नभएका मुलुकहरु पोर्चुगल, रोमानिया, क्रोयसिया, माल्टा, चेक रिपब्लिक लगायतका देशहरुमा नेपाली राजदूताबास स्थापना गर्न यो सम्मेलन नेपाल सरकार समक्ष पुनः आह्वान गर्दछ । साथै युरोप क्षेत्रभित्र पर्ने आपत्कालिन अबस्थालाई सम्बोधन गर्न क्षेत्रगतरुपमा फाउण्डेशन मार्फत एक अक्षय कोष स्थापना गर्ने निर्णय गर्दछ ।
९) विभिन्न माध्यमबाट गैरकानूनी रुपमा युरोपका पोर्चुगल, इटाली, टर्की, रोमानिया, क्रोसिया, सर्भिया, लगायतका मुलुकमा भइरहेको अबैध मानव ओसारपसारलाई रोक्न तथा जागरण अभियान सञ्चालन गर्न संघका विभिन्न देशमा संयुक्त संयन्त्र बनाई अघि बढ्न यो सम्मेलन राष्ट्रिय समन्वय परिषद्हरुलाई आग्रह गर्दछ ।
१०) गैरआवासीय नेपालीहरुले विदेशमा आर्जन गरेको ज्ञान र सीपलाई आफ्नो मातृभूमिमा स्थानान्तरण गर्ने कार्यलाई प्राथमिकतामा राख्दै आगामी अक्टोबर महिनामा हुने विज्ञ सम्मेलनमा सहभागी हुन विश्वभर छरिएर रहनु भएका विभिन्न विज्ञहरुलाई हार्दिक अपिल गरिन्छ ।
११) नेपाल सरकारद्धारा वैदेशिक रोजगारीमा रहेका लाखौं नेपालीहरुलाई सामाजिक सुरक्षा कोषमा जोड्ने कार्यलाई कार्यान्वयनमा ल्याएको प्रति यो सम्मेलन नेपाल सरकारप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै सम्पूर्ण गैरआवासिय नेपालीलाई यो सम्मेलन सो कोषमा आबद्ध हुन आह्वान गर्दछ।
१२) बिश्व युवा सम्मेलन विशेष गरी युवाहरुलाई उद्यमशील बनाउन जोड दिनुपर्ने र गैरआवासीय नेपाली संघसँग युवा तथा दोश्रो पुस्तालाई अझ प्रभावकारी ढंगबाट जोड्न खेलकुद, भाषा तथा संस्कृतिलाई महत्वका साथ प्राथमिकतामा राखी संस्थागत रुपान्तरण र संघका दोस्रो पुस्तालाई जोड्ने उदेश्यले आगामी अक्टोबरमा काठमाण्डौंमा विश्व युवा सम्मेलन गर्ने निर्णय गरिन्छ । क्षेत्रिय सम्मेलन – बैठकलाई प्रभावकारी र समयानुकुल परिमार्जन गर्दै उन्नत बनाउन युवाहरुले गर्नु भएको गम्भिर ध्यान आकर्षण बारे यो सम्मेलन गम्भिर हुंदै महत्वका साथ ग्रहण गर्दछ ।
१३) संघको आगामी १६औ यूरोप क्षेत्रिय सम्मेलन गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद माल्टाको आतिथ्या आगामी २०२४ को मे महिनामा आयोजना गर्ने निर्णय गर्दछ ।
१४) अन्त्यमा यस सम्मेलनलाई सफलतापूर्वक सम्पन्न गर्न पाल्नुभएका प्रमुख अतिथि ज्यू, विशिष्ट अतिथि ज्यू, अतिथी ज्यूहरु, कार्यक्रम प्रायोजक, स्वयंसेवक, सञ्चारकर्मी, कलाकार, पत्रकार लगायत आयोजक राष्ट्र एनसीसी चेक रिपब्लिक सहित विश्वभरि रहनुभएका गैरआवासीय नेपालीजनमा हार्दिक कृतज्ञता व्यक्त गर्दछ ।
गैरआवासीय नेपाली संघ
७ मे, आइतवार, २०२३
|
बृहत र्यालीसहित कोभेन्ट्रीमा २५६७ औँ बुद्ध जयन्ती सम्पन्न बेलायत। कोभेन्ट्रीमा भगवान् बुद्धको २५६७ औँ बुद्ध जयन्ती मनाइएको छ। कोभेन्ट्री नेपाली समाज बेलायतको आयोजनामा कोभेन्ट्रीस्तिथ सेन्टर पुस्तकालयमा बुद्धको बारेमा लेखिएका पुस्तकहरु हस्तान्तरण गरी २५६७ औं बुद्ध जयन्ती मनाइएको हो।
सोही अवसरमा नेपाली भाषामा लेखिएको भागवत गीता पुस्तक पनि पुस्तकालयलाई हस्तान्तरण गरिएको छ।
मे ५ तारिक शुक्रबार दिउँसो बृहत शान्ति र्यालीसहित गरिएको कार्यक्रम दिउँसो १ बजे बाट कोभेन्ट्री सिटी सेन्टर पुस्तकालय हुँदै गासफोर्ड पार्कमा आएर समापन भएको थियो।
स्मरण रहोस् विगतमा पनि उक्त सेन्टर पुस्तकालयमा कोभेन्ट्री नेपाली समाजकै पहलमा नेपाली भाषाका पुस्तकहरु समावेश गरिएको थियो। विश्वका विभिन्न थुप्रै भाषाका विभागहरु समावेश गरिएको उक्त पुस्तकालयमा नेपाली भाषाको विभाग पनि समावेश गरिएको छ।
उक्त कार्यक्रममा पुस्तक ग्रहण गर्दै पुस्तकालय प्रमुख ऐनी ब्राउनले आफ्नो मन्तब्य दिँदै कोभेन्ट्री नेपाली समाज प्रति खुसी ब्यक्त गरेकी थिइन्। त्यसै गरी समाजका अध्यक्ष सन्तोष पौडेलले आगामि दिनमा पुस्तकालय प्रति समाजको अझ जिम्मेवारी रहेको कुरा बताएका थिए।
साहित्यकार भरत कुमार श्रेष्ठले पुस्तकालय पुस्तक ब्यवस्थापनमा सहयोग गर्दै आगामी दिनमा अझै पुस्तकहरु समावेश गरिने कुरा भएका थिए।
पुस्तक हस्तान्तर पश्चात ब्यानर र नेपाली झण्डासहितको उक्त र्याली गासफोर्ड पार्कमा आएर भगवान गौतम बुद्धको मुर्तिलाई पूजा गरेको थियो। कार्यक्रमको अन्तिम चरणमा जिवन विज्ञान प्रशिक्षक अन्जना गुरुङले बुद्धको बारेमा प्रवचन दिँदै कोभेन्ट्रि नेपाली समाजलाई धन्यवाद ब्यक्त गरेकी थिइन्।
अध्यक्ष पौडेलले उक्त बुद्ध जयन्ति कार्यक्रमलाई सफल बनाउनको लागि विभिन्न साथीहरुले आर्थिक सहयोग गर्ने इच्छा ब्यक्त गरेको कुरा उल्लेख गर्दै कोभेन्ट्री नेपाली समाजले कतै बाट पनि आर्थिक सहयोग नलिएको जानकारी गराएका थिए।
|
अमेरिकामा ट्रकको ठक्करबाट नेपाली महिलाको मृत्यु काठमाडौं। अमेरिकाको टेक्सास राज्यमा ट्रकको ठक्करमा परी एक नेपाली महिलाको मृत्यु भएको छ ।
रक्डेल सिटीनजिकै बिहीबार साँझ ट्रकले ठक्कर दिए पछि घाइते भएकी प्रमिला सुवेदीको निधन भएको हो । उनी एनआरएन आइसीसीको अमेरिकाका क्षेत्रीय उपसंयोजक रामकुमार सुवेदीकी धर्मपत्नीसमेत हुन ।
रक्डेल सिटीनजिकै छोरालाई विश्वविद्यालय पुर्याएर फर्किने क्रममा प्रमिलाले आफैले चलाएको कारलाइ बिहीबार साँझ ट्रकले ठक्कर दिएको थियो । ट्रकको ठक्करवाट घाइते ४७ वर्षीय सुवेदीको घटनास्थलमै मृत्यु हुनु पुगेको जनाइएकाे छ ।
दुई दशकदेखि सुवेदी दम्पति अमेरिकाको टेक्सासमा बस्दै आएका थिए। उनीहरुको सन्तानको रुपमा दुई छोराहरु रहेका छन्। |
अमेरिकामा राजनीतिक सफलता पछ्याउँदै नेपालका ह्यारी वाशिङटन डिसी । विश्वका कुनै पनि देशबाट अमेरिका आएका जो कोही पनि आत्मनिर्भर र आर्थिक रुपले सहज जीवन बिताउने सपना देख्छन् । सुखद भविष्यको सपना साँचेर अवसरको खोजीमा अध्ययन, व्यवसायको सञ्जाल विस्तार, सुव्यवस्थित बसोबासका लागि अमेरिका आउनेहरु आज पनि उत्तिकै छन्।
आफ्नो भूगोलबाट ठ्याक्कै विपरीत धु्रवमा रहेको अमेरिका आउने चाहना नेपालीको पनि छ । उनीहरुको चाहना अमेरिका आउने अनि आफनो आर्थिक अवस्थामा आमूल परिवर्तन ल्याउने र पारिवारिक दायित्व पूरा गर्ने नै हुन्छ । यस्तै, नेपालीहरुमध्ये एक हुन्, डा ह्यारी भण्डारी ।
अमेरिकाकै एक प्रतिष्ठित विश्वविद्यालयबाट विद्यावारिधि गरेर मेरिल्यान्ड राज्यबाट निर्वाचित सांसद (डेलिगेट) को हैसियतले भण्डारी अहोरात्र खटिरहेका छन्। अमेरिकाको एउटा राज्यको सांसदको भूमिका के नै होला र भन्ने लागे पनि यसको प्रक्रिया र संरचना अध्ययन गरेपछि भने सबैले भन्ने गर्छन्– यो कठिन कार्य हो ।
केही थान अङ्ग्रेजी साहित्यका र नेपाली किताब सुटकेसमा हालेर सन् २००५ मा अमेरिका आएका भण्डारी आधा दशकदेखि भने अमेरिकाको मेरिल्यान्ड राज्यको तल्लो सदनमा सांसदका रुपमा क्रियाशील छन्। कूल एक सय ४१ सदस्यीय सांसद राज्यका लागि बजेट तर्जुमा, आवश्यक पर्ने नीति नियमको परिमार्जन र गभर्नरको भिटोलाई समेत निष्क्रिय गराउन सक्ने गरी मुख्य कार्य क्षेत्र निर्धारण गरिएको छ ।
अमेरिका स्वतन्त्र हुनुभन्दा एक सय ४४ वर्षअगाडि नै सन् १६३२ मा स्थापना भएको मेरिल्यान्ड जनरल एसेम्बलीले हालसालै चार सय ४५औँ बैठक सम्पन्न गरिसकेको छ ।
अमेरिकाका संस्थापक पिता भनेर सम्बोधन गरिने जर्ज वाशिङटन, जेफर्सनजस्ता व्यक्तित्वहरुले भावी पिँढीका लागि इतिहास कोरेको भवनमा ह्यारीले पनि उनीहरुकै पदचाप पछ्याउँदै छन्। उनको राजनीतिक यात्राले त दश वर्ष मात्र पूरा गरेको छ तर आप्रवासी नेपाली अमेरिकीमाझ उनी उदाहरणीय बनेका छन्। उनी सफलता पछ्याउँदै अघि बढेका छन्।
भण्डारीले सन् २०१८ मा आफ्नो डिष्ट्रिकबाट मेरिल्यान्ड राज्यको संसद्मा प्रतिनिधित्व गर्ने पहिलो नेपाली अमेरिकी बनेर इतिहास रचेका छन्। आप्रवासीहरुको न्यून उपस्थिति भएको उक्त क्षेत्रबाट तीनजनाले राज्य संसद्मा प्रतिनिधित्व गर्नेमा ह्यारीले १२ वर्षपछि डेमोक्र्याट पार्टीका तर्फबाट जित हासिल गर्न सफल भएका थिए ।
ह्यारीको विजयी अभियानलाई नेपाली आप्रवासीले अङ्गीकार गरेको ‘फर्सीको मुन्टा कूटनीति’ ले काम गरेको टिप्पणी स्वतन्त्र अध्येताहरुको छ । नेपालीहरु आफ्नो करेसाबारीमा फलेको हरियो सागसब्जी छिमेकीलाई दिएर अपनत्वको भावना जागृत गराउन सिपालु हुन्छन् । उनको विजयमा यो कूटनीतिले पनि सघाएको छ ।
पेसाले शिक्षक भण्डारीले ‘टिचर फर डेलिगेट’ भन्ने नारा तय गरेका थिए। यो नाराले उनलाई विजय हुन मात्र सफलता दिएन बरु राजनीतिक सम्भावनाको ढोका पनि खोलिदियो । तिनै शिक्षकले अहिले आफ्नो डिष्ट्रिकमा विद्यार्थीहरुको बढ्दो चापलाई कम गर्न विद्यालयको भौतिक संरचना निर्माणका लागि लाखौँ डलर राज्यकोषबाट ल्याउन सफल भएका छन्।
संसद् बैठकको अन्तिम दिन अनेकन बिलहरु पारित गर्नुपर्ने दबाबमा हाउसका अध्यक्ष, स्पिकर, सिनेटरहरु र डेलिगेटहरु रहेका हुन्छन् भने अल्पमतमा रहेकाहरु कसरी एउटा भए पनि बिललाई पास हुनबाट रोकौँ भन्ने ध्यानमा हुन्छन् । हाल भण्डारी मेरिल्यान्ड राज्यको संसद्मा एसियन अमेरिकन प्यासिफिक आइल्यान्डरको ककसको अध्यक्षसमेत हुन् ।
संसद् बैठक समापन हुनुभन्दा २६ मिनेटअगाडि यो बिल जब सिनेटका अध्यक्ष बिल फार्गसनले पढेर सुनाए, सिनेटमा उपस्थित भएका सिनेटरहरुमध्ये सबैले बिलको पक्षमा मतदान गरेर बिल पारित भयो ।
बिल पारित भएपछि प्रतिक्रिया दिँदै भण्डारीले भने, “अमेरिका विविधतामा एकता भएको विश्वको एक मात्र यस्तो भूमि हो, जहाँ यहाँका नागरिकको चासो र सम्भावनालाई निर्वाचित प्रतिनिधिहरुले उच्च महत्वका साथ कानुनमार्फत सम्बोधन गरिरहेका हुन्छन् । यसैले गर्दा तपाइँ हामीले मानेको चाड दसैँ कानुन बनेर आयो ।”
हुन पनि सङ्ख्यात्मक हिसाबले सानो सङ्ख्यामा रहेको नेपाली अमेरिकीले मनाउने दसैँलाई भण्डारीले उच्च प्राथमिकताका साथ लिएर संसद्मा गए र पारित गराउन सफल भए । अब आगामी मे ३ तारिखमा तय गरिएको र मेरिल्यान्ड राज्यका गभर्नर वेज मुरले हस्ताक्षर गरेपछि यो कार्यान्वयनमा जानेछ।
मोर्गन स्टेट युनिभर्सिटीका प्राध्यापक डा उत्तम गौलीले भने, “दसैँ बिल पारित हुनु हामीहरुका लागि अभूतपूर्व खुसीको क्षण हो । बिलमा समावेश भएका दुईटा कुराले अमेरिकाको कानुनको किताबमा नेपाल र नेपाली भावनालाई समेटेको छ । पहिलो, यसमा दसैँ नेपालबाट आएको भनिएको छ भने अर्कोतर्फ बसुधैव कुटुम्बकम भन्ने शब्दावलीलाई यसले अङ्गीकार गरेको छ ।”
चार दशकदेखि अमेरिकामा बस्दै आएका र दसैँ बिलका बारेमा संसदीय समितिमा वकालतसमेत गरेका डा श्याम कार्कीले खुसी हुँदै भने, “डा भण्डारीले नेपाली समुदायको भावनालाई उच्चतम् प्राथमिकतामा राखेर काम गर्नुभएको पुष्टि भएको छ ।”मेरिल्यान्डमा हिन्दू तथा वुद्ध मन्दिरको स्थापनाका लागि प्रमुखदाताका रुपमा समेत रहेका कार्कीले यो बिलले मेरिल्यान्ड राज्यमा दसैँले मान्यता प्रदानमात्र गरेको छैन भाइचाराको सम्बन्धलाई पनि स्थापित गरेको कार्कीको भनाइ छ।
साहित्यकार तीर्थ पाण्डेयले भने, “यो बिल पारित हुनु हामीहरुका लागि खुसीको कुरा हो । अब हामीले यो बिलले समेटेअनुसारको काम गर्नुपर्नेहुन्छ ।”
खासमा यो बिलले हरेक वर्ष अक्टोबर ५ लाई दसैँ डे भनेर मनाइने छ । त्यस दिन मेरिल्यान्ड राज्यका गभर्नरले दसैँ डे भनेर घोषणापत्र सार्वजनिक गर्नेछन्। साथमा त्यो दिन विशेष चाड भएको भनेर अभिभावकहरुले विद्यालयमा आफ्नो बालबालिकाहरुका लागि बिदा माग गर्न सक्नेछन् ।
भण्डारी अमेरिकामा रहेका नेपालीहरुका लागि राजनीतिक सफलता पाएसँगै एक नमूना राजीतिज्ञका रुपमा स्थापित भएका छन्। उनले गाह्रोसाह्रो परेका बेला कैयन् व्यक्तिलाई सहजीकरणसमेत गरेका छन्। विविध कारणले मृत्यु भएकाहरुको सद्गत गर्नेदेखि आप्रवासनका समस्या, भाषागत समस्याका कारणले कानुनी परिबन्दमा परेकाहरुको सहजीकरणदेखि हरेक कुरामा ह्यारीको साथ र सहयोग रहेको छ ।
सन् २०२१ को कोरोना महामारीका बेला ह्यारीले ५० वटै राज्यका अमेरिकामा नेपालीहरुको बेरोजगार फर्म भर्न सहजीकरण गर्नेदेखि मनोवैज्ञानिक त्रासमा रहेकाहरुलाई ढाडस दिने काम गरेका थिए । सामाजिक अभियन्ता अर्जुन हमाल भन्छन्, “आफैँलाई कोरोना महामारी भए के गर्ने ? भन्ने अन्यौल थियो तर उहाँ मास्क र पञ्जा बोकेर कैयन् आप्रवासीहरुको घरदैलोमा पुग्नुभयो । भण्डारीमा सामाजिक र भावनात्मक रुपले राजनीतिक नेतृत्वमा हुनुपर्ने गुण छ ।”
अहिले पनि भण्डारीको कार्यालयमा सहयोगका लागि हरेक दिन सम्पर्क गर्ने व्यक्तिहरुको कमी छैन । अमेरिकामा चारवटा अलगअलग समयसीमा छ, पूर्वतटीय भूगोलमा भन्दा पश्चिमतटको समयको फरक तीन घन्टा छ ।
कतिपय अवस्थामा त रातको २ बजे पनि समस्यामा परेकाहरुले भण्डारीलाई फोन गर्ने गर्छन् । विविध कारणले मृत्युवरण गरेकाहरुको अन्तिम संस्कारका लागि अपनाउनुपर्ने प्रक्रियाका बारेमा भण्डारीको कार्यालयले समन्वय गर्दै आएको छ, भने दिवङ्गतहरुको शव नेपाल पठाउनका लागि पनि भण्डारी स्रोत व्यक्तिसरहकै रुपमा काम गर्दै आएका छन्।
अमेरिकास्थित दूतावास, नेपालमा रहेका परिवारका सदस्यहरुको मञ्जुरीनामा, शवदहन गृहका प्रतिनिधिसँग छलफलदेखि एयरलाइन्ससँग समन्वय गर्ने सबै काम उनको कार्यालयले गर्दै आएको छ ।
भण्डारीले मेरिल्यान्डमा रहेका नेपालीको संघसंस्थाका लागि सहयोग कोषमार्फत सात लाख डलरसमेत दिलाउन सफल भएका छन्। यसरी रकम प्राप्त गर्नेहरु हिन्दू, बुद्ध मन्दिर, नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र, बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिकालगायतका गैरनाफामूलक संस्था रहेका छन् ।
भर्जिनियामा बस्दै आएका अन्तर्राष्ट्रिय साहित्य समाज मेरिल्यान्ड च्याप्टरका पूर्वअध्यक्ष भरत बराइली भन्छन्, “डेलिगेट भण्डारीले अमेरिकामा रहेका नेपालीका लागि अभिभावककै भूमिका निर्वाह गर्नुभएको छ।” उनले नेपाली भाषीहरुको कला, संस्कतिको जगेर्नामा त महत्वपूर्ण भूमिका निभाउनु भएको बराइलीले टिप्पणी गरे ।
मेरिल्यान्डका सामाजिक अभियन्ता गौतम दाहाल भन्छन्, “ह्यारीले गैरनाफामूलक संस्थाहरुलाई राज्यका तर्फबाट रकम दिलाउनु भएर नेपाली अमेरिकीका लागि महत्वपूर्ण भूमिका निर्वाह भएको छ ।”
अमेरिकाको संसद्मा प्रतिनिधित्व गर्नुहुने ह्यारीले संसद्मा गीता र वेदका पुस्तक छोएर शपथ लिएका थिए। मेरिल्यान्डको राजधानी एनापोलिसमा रहेको उनको कार्यकक्षमा नेपालको झन्डा र सगरमाथाको तस्बिर सजिएका छन् ।
भावी पिँढीका लागि अमेरिकाको मूलधारको राजनीति, कूटनीति, शिक्षा, स्वास्थ्यजस्ता विषयलाई उच्च तहमा पु¥याउनका लागि उपलब्ध अवसरलाई सहजीकरण गर्न सदैव तत्पर रहेको बताउने भण्डारीले विगत पाँच वर्षमा मेरिल्यान्ड जनरल एसेम्बलीबाट १७ वटा विधयेक आफैँले प्रस्तुत गरेर पारित गराउन सफल भएका छन्।
उनले नेपाली अमेरिकीलाई मूलधारको राजनीतिमा अभियानकै रुपमा अगाडि बढाउने अभिप्रायले ‘नेपाली फर हिलारी’ र ‘नेपाली फर वाइडेन’ भनेर राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याट पार्टीका उम्मेदवारहरुलाई सहयोग गर्न संस्थागत रुपले नै लागेका थिए। आगामी दिनमा मतदाताको सुझावलाई मनन गर्दै थप कार्य गर्ने योजना रहेको उनी बताउँछन्।रासस |
बुद्ध जन्मस्थलको भ्रम निस्तेज पार्ने अभियान मेलबर्न। नेपालबाट मेलबर्न आएर बसोबास गर्नेहरुको अभिभावकहरुको संस्था ‘मिलन पार्क आमा बुवा मेलबर्न’ले ज्याक रोपर रिजर्भ पार्कमा वनभोज कार्यक्रम आयोजना गरेको छ। उक्त कार्यक्रममा करिब डेढ सय जनाको उपस्थिति रहेको थियो।
उक्त संस्थाले नेपालको गर्व र पहिचानमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने एउटा आधार विस्व शान्तिका प्रतिक बुद्धको जन्मस्थल विषयमा सिर्जित विश्वब्यापी दिग्भ्रमलाई निस्तेज गर्ने काम गर्दै आएका छन्।
धेरैको ब्यक्तिगत र संस्थागत जिज्ञासालाई सम्बोधन गर्दै लुम्बिनी-कपिलवस्तु विश्व अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठले नेपालको गर्व र पहिचानमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने मात्रै नभएर विश्व शान्तिमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने यो विषयमा सरकारले प्राथमिकता दिनुपर्ने तर नदिइएकोले जनस्तरबाट क्रियासिल अभियानले २००९ देखि हालसम्म प्राप्त गरेको राष्ट्रिय अन्तराष्ट्रिय महत्वका उपलब्धीबारे संक्षिप्तमा प्रकाश पार्दै यो उदेश्य प्राप्ती कार्यमा प्रत्येकले आ-आफ्नो क्षमताले केही न केही गर्न सक्ने भएकोले ‘मिलन पार्क आमा बुवा मेलबर्न’ ले संस्थाको दिगोपना र अभियानको उदेश्य प्राप्ती कार्यलाई प्रभावकारी ढंगले कसरी समानान्तर रुपमा अगाडि बढाउन सक्छ भन्ने कुरामा प्रकाश पारे।
नेपाली कांग्रेस महासमिति सदस्य निर्मल कर्माचार्यले यो किसिमको भेटघाटले नेपालमा नै बसेको अनुभूति दिलाएको भन्दै आयोजक र आयोजनालाई सफल तुल्याउन सक्रिय सहयोगी मन र हातहरुप्रति आभार व्यक्त गरे। कर्माचार्यले वुद्धको जन्मस्थल विषयमा विदेशमा बस्नेहरुद्धारा यत्ति धेरै महत्वपूर्ण कामहरु भएको थाहा पाएर अत्यन्तै खुशी लागेको बताए।
नन्द प्रसाद पन्तद्धारा सञ्चालित उक्त कार्यक्रममा दिदीबहिनी समाजका निबर्तमान अध्यक्ष डा. जमुना पराजुली, सोही संस्थाका निबर्तमान उपाध्यक्ष प्रभा श्रेष्ठ, अंविका भन्डारी, वलराम ढुंगाना, सुभाश केसी, बिपुल ज्ञवालीले पनि मन्तब्य राखेका थिए र नित्य नाथ तिवारीद्धारा मन्तब्य राख्ने कार्यक्रमको समापन गरिएको थियो।
कार्यक्रममा सहभागी श्रीकृष्ण खड्काद्धारा लुम्बिनी-कपिलवस्तु विस्व अभियानद्धारा प्रत्येक नेपालीले गर्व गर्नुपर्ने विषयलाई यसरी महत्वका साथ उठान गरेर धेरै उपलब्धी हासिल गरेकोमा खुशी लागेको भन्दै अभियानको उदेश्य प्राप्ती कार्यमा सहभागिता जनाउँदै उपस्थित सबैलाई “Buddha born in Nepal” भन्दै प्रसाद बाडेका थिए।
कार्यक्रमको व्यवस्थापन समितिमा नन्द प्रसाद पन्त, सुवास केसी, रेखा केसी, साहारा केसी, विपुल ज्ञवाली, सीता पौडेल, प्रकाश वावु र भरत राज न्यौपाने थिए भने दिनभरीका लागि करीब डेढ सयका लागि खानपानका लागि HHYF संस्थामा सहभागी भए वापत पर्शु राम लुइंटेलबाट ७०० डलर, र दिदिवहिनी समाजकी निवर्तमान अध्यक्ष जमुना पराजुली, राजु पन्तबाट नगद र जिन्सी प्राप्त भएको थियो भने नपुग खर्च सुभाश केसी र बिपुल ज्ञवालीले ब्यहोर्ने प्रतिबद्धता जाहेर गरेका छन्। |
सुडानमा सम्पर्कमा रहेका १९ जना नेपाली नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय काठमाडौं। नेपाल सरकारले यही वैशाख २ (१५ अप्रिल २०२३) गतेदेखि सुडानमा विकसित जटिल सुरक्षा अवस्थालाई लिएर त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षा र उद्धारका लागि उच्च सतर्कताका साथ सबै पक्षसँग समन्वय गरी आवश्यक प्रयास जारी राखेको जनाएको छ ।
इजिप्टको कायरोस्थित नेपाली राजदूतावासद्वारा सुडानमा रहेका नेपाली, संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनहरूमा कार्यरत नेपाली पदाधिकारी, सुडानस्थित अवैतनिक नेपाली वाणिज्यदूत तथा सुडानी निकायहरूसँग निरन्तर सम्पर्कमा रही विवरण अद्यावधिक गर्ने कार्य भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नेपाली राजदूतावास, कायरोले राजदूतावाससँग सम्पर्कमा रहेका १९ जना नेपालीको सूची तयार गरेको र सूचीकृत सबैजना हालसम्म सुरक्षित रहेको जनाएको छ ।
तीबाहेक तीनजना नेपाली शान्ति सैनिक हिजो (१० गते) अफ्रिकी मुलुक चाडतर्फ गएको, खार्तुमस्थित संयुक्त राष्ट्रसङ्घका विभिन्न निकायमा कार्यरत सातजना नेपाली सोही दिन खार्तुमबाट सडकमार्फत रेड सीस्थित पोर्ट सुडानतर्फ प्रस्थान गरिसकेको र त्यहाँबाट हवाई सेवामार्फत युगान्डा जाने तयारी रहेको बुझिएको छ ।
हालको असहज र जटिल सुरक्षा अवस्थामा नेपाल सरकारले सुडानमा रहेका सबै नेपाली नागरिकलाई सुरक्षित स्थानमा रहन र अत्यावश्यक काममा बाहेक बाहिर हिँड्डुल नगर्न आग्रह गरेको छ । मन्त्रालयले आपत्कालीन अवस्थामा कायरोस्थित नेपाली राजदूतावास (दीपक घिमिरे, द्वितीय सचिव, मोबाइल\वाट्स्याप २०१०९७७७२३४८ र २०१०२९६०६६६२, email: [email protected]मा सम्पर्क गर्न आग्रह गरेको छ । |
कांग्रेस समर्थित विदेशस्थित जनसम्पर्क समितिद्वारा गठबन्धनका उम्मेदवार जिताउन अपिल काठमाडौं। विश्वका विभिन्न देशमा रहेका नेपाली कांग्रेस समर्थित जनसम्पर्क समितिले वैशाख १० मा हुने उपनिर्वाचनमा सत्ता गठबन्धन आबद्ध उम्मेदवारलाई विजयी गराउन अपिल गरेका छन्। ३४ देशमा रहेका जनसम्पर्क समितिले संयुक्त अपिल जारी गर्दै मुलुकको हितका लागि गठबन्धनका उम्मेदवारलाई विजयी गराउन जनतासँग अपिल गरेका छन्।
‘यही वैशाख १० गते तनहुँ क्षेत्र नम्बर १, चितवन क्षेत्र नम्बर २ र बारा क्षेत्र नम्बर २ मा हुन लागेको उपनिर्वाचनको संघारमा छौं। आज रातिबाट प्रचार-प्रसारको समय अवधि सकिएर मौन अवधि सुरु हुँदैछ। हामी यतिबेला भूगोलको नेपालभन्दा धेरै टाढा छौं। तर, हाम्रो भावना र मन राजनीतिक रूपमा यही उपनिर्वाचनमा केन्द्रित छ,’ विज्ञप्तिमा भनिएको छ, ‘हामी नेपाली कांग्रेसको विदेशस्थित संगठन नेपाली जनसम्पर्क समितिमार्फत आज विश्वका विभिन्न मुलुकमा संगठित छौं। र, उपनिर्वाचनमा कांग्रेसका साथै गठबन्धनका उम्मेदवारलाई विजयी गराउन अपिल गर्दछौं।’
मुलुकमा विभिन्न विपत्तिका समयमा आफूहरूले सहयोग र राहत जुटाउँदै आएको स्मरण गर्दै उनीहरूले आफूहरू जहाँ रहे पनि नेपालको समृद्धि हेर्न चाहेको बताएका छन्।
नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति एवम् कांग्रेस पूर्वआमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टले वैशाख १० गते हुने उपनिर्वाचनलाई देशबाहिर रहेर पनि महत्त्व र चासोका साथ हेरिरहेको बताए। ‘आसन्न उपनिर्वाचनमा आफ्ना परिवारजन, इष्टमित्र, साथीभाइ र शुभेच्छुकमार्फत कांग्रेस र गठबन्धनका उम्मेदवारको पक्षमा मत माग्न चाहन्छौं,’ उनले भने।
नेपालमा ठूला राजनीतिक परिवर्तन र विकास निर्माणका काममा कांग्रेसले नै नेतृत्व गरेको बताउँदै उनले अहिले पनि मुलुकलाई कांग्रेसकै योजना आवश्यक रहेको बताए। ‘कांग्रेसकै नेतृत्वमा शान्ति स्थापना र वर्तमान संविधान निर्माणको काम भएको छ। संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको आजको राजनीतिक उपलब्धिको जग कांग्रेसको स्थापनाकालमै घोषित थियो। जनताको अधिकारका लागि कांग्रेसले स्थापनाकालमा नै आफ्नो संविधान आफैँ लेख्ने, आफ्नो प्रतिनिधि आफैँ चुन्न पाउनुपर्ने नीति घोषित रूपमा नै सार्वजनिक गरेको स्मरण गराउन चाहन्छौं,’ जारी विज्ञप्तिमा भनिएको छ।
यस्तो छ अपिल
मिति : अप्रिल २०, २०२३
उपनिर्वाचनका मतदाहरूलाई हार्दिक अपिल
आदर्णिय आमाबुवा तथा दाजुभाइ र दिदीबहिनीहरू
जय नेपाल।
यही वैशाख १० गते तनहुँ क्षेत्र नम्बर १, चितवन क्षेत्र नम्बर २ र बारा क्षेत्र नम्बर २ मा हुनलागेको उपनिर्वाचनको संघारमा छौं। आजै रातिबाट प्रचार-प्रसारको समय अवधि सकिएर मौन अवधि सुरु हुँदैछ। हामी यतिबेला भूगोलको नेपालभन्दा धेरै टाढा छौं। तर, हाम्रो भावना र मन चाहिँ राजनीतिक रूपमा यही उपनिर्वाचनमा केन्द्रित छ। हामी नेपाली कांग्रेसको विदेशस्थित संगठन नेपाली जनसम्पर्क समितिमार्फत आज विश्वका विभिन्न मुलुकमा संगठित छौं।
नेपाली कांग्रेसका संस्थापक नेता, महामानव विश्वेश्वरप्रसाद कोइरालाले भारत निर्वासनमा रहँदा त्यहाँ रहेका कांग्रेसका सदस्य र शुभेच्छुकहरूलाई संगठित गर्दै यो समितिको स्थापना गर्नु भएको हो। जुन संस्था आज आप्रवासनमा रहेका आम नेपालीको सुख, दुःखको साथी बनेको छ। उता मातृभूमिमा दैवीय एवम् प्राकृतिक विपत्ति पर्दा हामी राहतका लागि जुटेका छौं भने पार्टीको सबै आह्वान र निर्देशनमा पनि समितिमार्फत सहभागी भइरहेका छौं।
यही वैशाख १० गते हुन लागेको उपनिर्वाचनलाई देशबाहिर रहेर पनि हामीले निकै महत्त्व र चासोका साथ हेरिरहेका छौं। आसन्न उपनिर्वाचनमा हामीले आफ्ना परिवारजन, इष्टमित्र, साथीभाइ र शुभेच्छुकहरूमार्फत हाम्रो मातृ पार्टी नेपाली कांग्रेसका उम्मेदवारहरूका पक्षमा मत मागिरहेका छौं।
हामी स्मरण गराउन चाहन्छौं कि मातृभूमि नेपालको सबै राजनीतिक परिवर्तनको आन्दोलनको नेतृत्व हाम्रो मातृ पार्टी नेपाली कांग्रेसले नै गरेको छ। अनि कांग्रेसकै नेतृत्वमा शान्ति स्थापना र वर्तमान संविधान निर्माणको काम भएको छ। संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको आजको राजनीतिक उपलब्धिको जग नेपाली कांग्रेसको स्थापनाकालमै घोषित थियो। जनताको अधिकारका लागि कांग्रेसले आफ्नो स्थापनाकालमा नै आफ्नो संविधान आफैँ लेख्ने,आफ्नो प्रतिनिधि आफैँ चुन्न पाउनुपर्ने नीति घोषित रूपमा नै सार्वजनिक गरेको हो। जसले १०४ वर्षको राणा शासन, ३० वर्षको निरङ्कुश पञ्चायती शासन र राजाको प्रत्यक्ष शासनको समेत अन्त गराउने आन्दोलनको नेतृत्व सफलतापूर्वक पुरा गरेको छ। यसर्थ कांग्रेसको राजनीतिक इतिहास गौरवपूर्ण रहेको छ र हामी नेपाली कांग्रेसको सदस्य हुनुमा गर्व गर्छौं।
नेपाली कांग्रेस वर्तमान सत्तारुढ गठबन्धनको प्रमुख दलको रूपमा सरकारमा छ। उपनिर्वाचनमा पनि हामी तनहुँ र चितवनमा सत्तारुढ गठबन्धनको साझा उम्मेदवारका साथ मैदानमा छौं। तनहुँ १ मा हाम्रो पार्टीका केन्द्रीय सदस्य गोविन्द भट्टराई मैदानमा हुनुहुन्छ। जसलाई तनहुँले आफ्नो धर्तीपुत्रको रूपमा माया गरेको छ र उहाँले पनि तनहुँका आम जनताको सुख, दुःखको साथी बनेर जिल्लाको विकास र सम्वृद्धिका लागि इमानदारीपूर्वक अनवरत सेवा गर्दै आउनु भएको छ।
उता चितवन २ मा पार्टीको जिल्ला सभापति भएर संगठनमा योगदान गर्नु भएका युवा जोस र चितवनको माटोमा भिजेका जुझारु जितनारायण श्रेष्ठ नेपाली कांग्रेसको चारतारे झन्डा र रुख चुनाव चिन्ह बोकेर उपनिर्वाचनको यो मैदानमा हुनुहुन्छ। यसैगरी बारा २ मा गठबन्धनका तर्फबाट उपेन्द्र यादव साझा उम्मेदवार हुनुहुन्छ।
हामी भूगोलबाट जति धेरै टाढा भए पनि भावनामा संधैं नेपालमै छौं र हामी नेपालको समुन्नति र सम्वृद्धिको लागि योगदान गर्न सधैँ तयार छौं। विकास, सम्वृद्धि र समुन्नतिका लागि हाम्रो पार्टी नेपाली कांग्रेसका उम्मेदवारहरूले जित्नु आवश्यक छ भन्नेमा प्रस्ट छौं। हामी काममा विश्वास गर्छौं र गर्वका साथ भन्न सक्छौं सम्वृद्धिको चाहनालाई नेपाली कांग्रेसको नेतृत्वले मात्र पुरा गर्न सक्छ।
तसर्थ विश्वभरका जनसम्पर्क समितिहरूको तर्फबाट हामी उप निर्वाचन हुँदै गरेको तनहुँ १ मा गोविन्द भट्टराई,चितवन २ मा जितनारायण श्रेष्ठ र बारा २ मा उपेन्द्र यादवलाई मतदान गरी अत्यधिक बहुमतका साथ विजयी गराउनु हुन सम्बन्धित सबै मतदाताहरूसमक्ष हार्दिक अपिलसहित विनम्र अनुरोध गर्दछौं।
जय नेपाल
विश्वभरका नेपाली जन सम्पर्क समितिको तर्फबाट
१. आनन्द विष्ट – सभापति, नेपाली जनसम्पर्क समिति, अमेरिका एवं पूर्व आमन्त्रित केन्द्रीय सदस्य, नेपाली कांग्रेस
२. बालकृष्ण पाण्डे – सभापति, नेपाली जनसम्पर्क समिति, भारत एवं पूर्व आमन्त्रित केन्द्रीय सदस्य, नेपाली कांग्रेस
३. सुरेशसिंह गुरुङ – सभापति,नेपाली जनसम्पर्क समिति, अष्ट्रेलिया
४. अंकित ओली – सभापति, नेपाली जनसम्पर्क समिति, आयरल्याण्ड
५. पदम सुन्दर गुरुङ – सभापति,नेपाली जनसम्पर्क समिति, बहराईन
६. बुद्धिप्रकाश ओली – सभापति, नेपाली जनसम्पर्क समिति, क्यानाडा
७. पुष्पा मिश्र – सभापति,नेपाली जनसम्पर्क समिति, साईप्रस
८. यादव बस्नेत – सभापति, नेपाली जनसम्पर्क समिति, डेनमार्क
९. सुधिर राना – सभापति, नेपाली जनसम्पर्क समिति, फ्रान्स
१०. शिखर खड्का – सभापति,नेपाली जनसम्पर्क समिति,जर्मनी
११. काजीकुमार गुरुङ – सभापति, नेपाली जनसम्पर्क समिति, हङकङ
१२. दिपिका भुसाल – सभापति, नेपाली जनसम्पर्क समिति, ईजरायल
१३. राजन चापागाईं – सभापति, नेपाली जनसम्पर्क समिति, ईटाली
१४. रोशन केसी – सभापति,नेपाली जनसम्पर्क समिति, जापान
१५. राजेन्द्र रसाईली – सभापति, नेपाली जनसम्पर्क समिति, कुवेत
१६. कुमार पौडेल – सभापति, नेपाली जनसम्पर्क समिति, लक्जेम्बर्ग
१७. चण्डीप्रसाद योङया – सभापति, नेपाली जनसम्पर्क समिति, मकाउ
१८. चोलाकान्त पंगेनी – सभापति, नेपाली जनसम्पर्क समिति, मलेशिया
१९. सालिक गौतम – सभापति,नेपाली जनसम्पर्क समिति, नेदरल्याण्ड
२०. बुद्धिसागर घिमिरे – सभापति,नेपाली जनसम्पर्क समिति, न्युजिल्याण्ड
२१. जीतेन्द्र शाही – सभापति,नेपाली जनसम्पर्क समिति, नर्वे
२२. शालीकराम चापागाईँ – सभापति,नेपाली जनसम्पर्क समिति, ओमान
२३. भिम परियार – सभापति, नेपाली जनसम्पर्क समिति,पोल्याण्ड
२४. वकिल केसी – सभापति,नेपाली जनसम्पर्क समिति, पोर्चुगल
२५. मोहम्मद अजिज अली – सभापति,नेपाली जनसम्पर्क समिति, कतार
२६. भजिन्द्र क्षेत्रि – सभापति,नेपाली जनसम्पर्क समिति, दक्षिण कोरिया
२७. सन्तोष श्रेष्ठ – सभापति,नेपाली जनसम्पर्क समिति, स्पेन
२८. नबिन थपलिया – सभापति,नेपाली जनसम्पर्क समिति, स्वीडेन
२९. भुवानी प्रसाद तिम्सिना – सभापति,नेपाली जनसम्पर्क समिति, युएई
३०. युवराज गुरुङ – सभापति,नेपाली जनसम्पर्क समिति, बेलायत
३१. जीवन जंग कुवँर – सभापति,नेपाली जनसम्पर्क समिति, अष्ट्रिया
३२. सन्देश केसी – सभापति,नेपाली जनसम्पर्क समिति, माल्टा
३३. सभापति चीन
३४. सभापति फिनल्याण्ड |
यूएईमा नेपाली युवाले जिते ७१ करोड बढीको चिठ्ठा काठमाडौं। रोजगारीको लागि संयुक्त अरव इमिरेट्स (यूएई) पुगेका एक नेपाली युवालाई २० मिलियन दिराम (नेपाली झण्डै साँढे ७१ करोड रुपैयाँ)को चिठ्ठा परेको छ।
विगत २३ वर्षदेखि यूएईमा सवारी चालकको काम गर्दै आएका पदम नाम गरेका नेपाली नागरिकले ‘महजुज ड्र’ मार्फत पहिलो विजेता हुँदै यो रकम प्राप्त गर्ने भएका हुन्।
स्थानीय पत्रिका खालिज टाइम्स्का अनुसार यूएईमा हरेक हप्ता हुँदै आएको ‘महजुज ड्र’ को १२४ औं संस्करणमा पदमले यो रकम जितेका हुन्।
पदमले ५,१०,४१, ४६ र ४९ नम्बरमध्ये पाँच वटै मिलाएर यति ठूलो रकम जितेका हुन्।
|
युरोपमा सुरु भयो नेपाली पाठशाला लिस्बन। युरोपेली मुलुकमा जन्मेका र हुर्केका नेपाली बालबालिकालाई लक्षित गरेर नेपाली पाठशाला सञ्चालन गरिएको छ।
नेपाली नारी समाज पोर्चुगल र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) पोर्चुगलको संयुक्त संयोजनमा शनिबारदेखि नेपाली पाठशाला सञ्चालन गरिएको हो।
नयाँ वर्ष २०८० को अवसर पारेर भर्चुअल माध्यम जुममार्फत पाठशालाको एक कार्यक्रमबीच शुभारम्भ गरिएको हो। उक्त अनलाइन पाठशालामा डेनमार्क, पोर्चुगल, बेलायत, नर्वे र बेल्जियमलगायतका मुलकका गरी ३१ जना नेपाली बालबालिकाको सहभागिता रहेको छ।
नेपाली नारी समाज पोर्चुगलकी अध्यक्ष सीता श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा गैरआवासीय नेपाली सङ्घका युरोप सहसंयोजक तिलक गैरे, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज पोर्चुगलकी अध्यक्ष सवी श्रेष्ठ, समाजकी सचिव गोमा रेग्मी, नारी समाजकी महासचिव पुनम गौतमलगायतले शुभकामना मन्तव्य दिएका थिए।
भर्चुअल माध्यम जुममार्फत नेपालबाट सञ्चालन गरिएको पाठशाला साताको हरेक शनिबार दुई घण्टा सञ्चालन हुनेछ। पाठशालामा नेपाली भाषासम्बन्धी आधारभूत, सैद्धान्तिक, व्यावहारिक र नेपाली कला संस्कृतिसम्बन्धी अध्यापन गराइने बताइएको छ।
समय अनुकूल मिलाएर विश्वका जुनसुकै मुलुकमा रहेका नेपाली बालबालिकालाई पाठशालामा सहभागी गराउन सकिने आयोजक संस्थाले जनाएको छ। |
भारतको पन्जावमा एक नेपाली महिलाको शंकास्पद मृत्यु नयाँ दिल्ली। भारतमा नेपालीको मृत्यु हुने क्रम दिनानुदिन बढ्दो छ। पञ्जाबस्थित गुरदीप कालोनीमा २६ वर्षीया विवाहित नेपाली युवतीको शंकास्पद मृत्यु भएको छ। मृतक युवतीका बुवाका अनुसार दाइजाेकाे निहुमा हत्या गरेकाे अभियाेगका युवतीका श्रीमान,सासु र सुसुरा विरूद्ध मुद्दा दायर गरिएकाे छ।
२६ वर्षीया अनिताको करिब दुई वर्षअघि गुरदीप कालोनी अबलोवल निवासी शंकर शर्मासँग विवाह भएको थियो। शंकर निजी काम गर्छन्। उनकी पाँच महिनाकी छोरी पनि छन्।
छत्रदेव गाउँपालिका-१, अर्घाखाँची स्थायी घर भई दीपनगर पटियाला वसोबास गर्ने युवतीका बुबा रामप्रसादले विवाहपछि आफ्नी छोरीलाई दाइजोका लागि दुर्ब्यबहार गरेको आरोप लगाएका छन्। कम दाइजो ल्याएको भन्दै ससुरा र सासुले बेलाबेला यातयना दिने गरेको उनले बताए।
अप्रिल ३ गते साँझ ५ः३० बजे मृतकका ससुरा विमलप्रसादले सम्धी रामप्रसादलाई फोन गरेर अनिता सलमा पासाे लगाएर आत्महत्या गरेको बताए। माइती परिवार घटनास्थल पुग्दा अनिता खाटमा पल्टिरहेकी थिइन्। उनको घाँटीमा डामहरू थिए। कसैले घाँटी थिचेको जस्तो निशान थिए। छोरीको आत्महत्या नभई सुनियोजित हत्या भएको बुबाको आरोप छ।
सल पंखामा झुण्डिएको थियो। तत्कालै उनलाई अस्पताल पुर्याइयो। डाक्टरले उनको मृत्यु भएको घोषणा गरे। पुलिस स्टेशन सिभिल लाइनले श्रीमान्, सासु गीतादेवी, ससुरा र विवाहित बहिनी सुनिताविरुद्ध मुद्दा दर्ता गरेको छ। श्रीमान् र ससुरालाई पन्जाब प्रहरीले पक्राउ समेत गरेर अनुसन्धान गरेको छ।
माइति पक्षका अनुसार युवतीलाई आफ्ना आमाबुवालाई फोन गर्न दिइएन न त फोन उठाउन दिइयो। जसको परिणाम स्वरूप अनिताको यो अवस्था आयो। भुमिकास्थान नगरपालिका-२, अर्घाखाँची स्थायी घर भइ पन्जाबमा बसोवास गर्ने शंकर शर्मा र अनिता बीच करिब दुई वर्षअघि बिवाह भएको थियो। अनिताले अक्टोबर २०२२ मा छोरीलाई जन्म दिइन्। त्यसपछि ससुराले उनलाई झनै दुर्ब्यबहार गर्न थाले।
घरायसी मनमुटाव र झगडा निरन्तर चल्यो। त्यसपछि नोभेम्बर २०२२ मा रामप्रसादले आफ्नी छोरीलाई मामाघरमा ल्याए। पछि दुवै पक्षबीच आपसी सम्झौता भएपछि अनिता ससुरा घर गएकी थिइन्। |
ए.एन.ए. कन्भेन्सन कोलोराडोको डेनभरमा हुँदै काठमाडौँ। सन् २०२३ को ए.एन.ए. कन्भेन्सन कोलोराडोको डेनभरमा हुने भएको छ। आगामी जुलाईको १ र २ मा हुने उक्त सम्मेलन द्रुत गतिमा अघि बढेको ए.एन.ए. ले जनाएको छ।
कोलोराडोको डेनभर क्षेत्रमा सक्रिय रहेका नेपाली संस्थाहरु Rocky Mountain Friends of Nepal (RMFN), INLS Colorado Chapter, Nepali Ghar, NRNA Colorado Chapter, Colorado Newah Khalah लगायतका संस्थाहरु संगको सहकार्यमा यो सम्मेलन हुन लागेको जानकारी विज्ञप्तिमा जनाइएको छ।
अन्य स्थानीय संघ संस्थाहरु लगायत स्थानीय समाजसेवीहरु सहितको मूल आयोजक कमिटि निर्माण गरेर सम्मेलनलाई भब्य रुपमा सम्पन्न गर्नेगरी तयारी अघि बढिरहेको कन्भेनर बिनोद त्रिपाठीले जानकारी दिए।
ए.एन.ए. ले उक्त २ दिन आफ्ना, परिवारको तथा अन्य कुनै सामाजिक गतिबिधि नगरी सबैजना यही सम्मेलनमा भेला भएर यस नेपालीहरुको राष्ट्रिय सम्मेलन सफल पारौँ भनि सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरु, यस संस्थाको पूर्व पदाधिकारीहरु, सम्पूर्ण सदस्यहरु सवैमा हार्दिक अनुरोध गर्दै आएको छ। |
जापानको फुजी हिमाल आरोहणका क्रममा नेपाली युवाको निधन टोकियो। जापानको माउन्ट फुजी चडने क्रममा दुर्घटनामा परि एक नेपाली युवाको निधन भएको छ।
सोलुखुम्बुको नाम्चे घर भएका छिरिङ शेर्पा सहित दुईजना जापानी नागरिक र एकजना अमेरिकी गरी जम्मा चार जनाको टोली फुजी हिमाल आरोहण गरी फर्कने क्रममा दुर्घटनामा परि शेर्पाको निधन भएको हो।
फर्कने क्रममा एक जापानी नागरिक चिप्लिएर चोट लागेको खबर पाएपछि उद्धारको लागि हेलिकप्टरको साहयता लिएपनि प्रतिकुल मौसमका कारण घटनास्थलमा हेलिकप्टर बस्न नसकेपछि १५ जनाको उद्धार टोली पठाई घाइतेलाई नजिकैको अस्पताल ल्याइएको थियो।
मृतक शेर्पाको शव भने प्रतिकुल मौसमको कारण अप्रिल ५ तारिख (एक सातापछि) घटनास्थलबाट टोकियो ल्याइ परिवारले शव जिम्मा लिएको थियो।
मृतक शेर्पा, शेर्पा संघ जापानको सल्लाहकार समेत थिए। उनी श्रीमती र २ जना छोरासहित करिब २ दशकदेखि जापानको खानागावा केनमा बसोबास गर्दै आईरहेका थिए।
उनको शव अप्रिल १० तारिख जापानमानै अन्तिम दाहसंस्कार गरिने भएको छ।
|
अष्ट्रेलियामा एनटीएफका अध्यक्ष दिनेश शर्मा ‘अन्तर्राष्ट्रिय राजदूत पुरस्कार’बाट पुरस्कृत हुने बारा। नेपाल तेक्वान्दो महासंघ (एनटीएफ) का अध्यक्ष दिनेश शर्मा अष्ट्रेलियामा पुरस्कृत हुने भएका छन् । निजगढ नगरपालिका-३ सिंगोल घर भएका शर्मालाई ‘अन्तर्राष्ट्रिय राजदूत पुरस्कार’ बाट अष्ट्रेलियामा पुरस्कृत गर्न लागिएको हो ।
अष्ट्रेलियाको मेलबर्नमा अप्रिल २३ तारिखमा हुने कार्यक्रमकाबीच शर्मालाई उक्त पुरस्कारबाट पुरस्कृत गरिनेछ । शर्मा आगामी महिना अष्ट्रेलियामा हुने अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आइटिएफ)को तत्वधान र युनाइटेड आइटिएफ तेक्वान्दो अष्ट्रेलियाको आयोजनामा हुने तेस्रो ग्लोबल ओपन तेक्वान्दो च्याम्पियनसिप २०२३ मा सहभागी हुनेछन् ।
नेपाली टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्दै अष्ट्रेलिया जान लागेका शर्मा विश्व मार्सल आर्ट हल अफ फेमका निर्देशक र नेपाल राष्ट्रिय मार्सल आर्ट गेम्स महासंघका महासचिव हुन । उनी नेपाल फाइट क्लब र साङ्ग्रोक नेपाल तेक्वान्दोे एकेडेमीका अध्यक्ष र मुख्य प्रशिक्षक समेत हुन् ।
मार्सल आर्टका विभिन्न अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागिता जनाइसकेका शर्मा अष्ट्रेलियामा पुरस्कृत हुने भएपछि खुशी भएका छन् । शर्माले भने ‘तेक्वान्दोप्रतिको निरन्तर लगावका कारण यो सफलता मिलेको हो । अझै यस खेलसंग समर्पित भएर अघि बढ्नेछु ।’
तेक्वान्दो कोचिङ क्याम्प, अन्तर्राष्ट्रिय रेफ्री र प्रशिक्षक तालिमहरुमा सहभागिता जनाएका उनले अमेरिका, बेलायत, जर्मनी, ब्राजिल, दक्षिण कोरिया, इटलीलगायत अन्य देशमा आयोजना भएका अन्तर्राष्ट्रिय मार्सल आर्टका खेलमा खेलाडी, प्रशिक्षक, रेफ्री र कार्यक्रम निर्देशकको रूपमा जिम्मेवारी सम्हालिसकेका छन् ।
शर्माले यसअघि अमेरीका, बेलायत, जर्मनी, ब्राजिल, भारत लगायतका विभिन्न देशबाट अन्तर्राष्ट्रिय पुरस्कार र सम्मान प्राप्त गरिसकेका छन् । |
मेलवर्नमा पनि मनाइयो चैते दशैं मेलवर्न। मेलवर्नमा पहिलो पटक बिधिपूर्वक गरिनुपर्ने संपूर्ण बिधि पुरा गरी चैते दशैं मनाइएको छ। अस्ट्रेलियन नेप्लिज मल्टिकल्चरल सेन्टरको आयोजनामा यो चैते दशैं मनाइएको हो।
कार्यक्रममा बिधिपूर्वक पूजा, भगवान रामको बिषयमा प्रवचन, भजन किर्तन, नाचगान गर्नुका साथै नयाँ आजीवन सदस्यको रुपमा आएका पंकज शाहलाई प्रमाणपत्र प्रदान गरिएको थियो।
कार्यक्रममा जन सम्पर्क समिति अस्ट्रेलियाका अध्यक्ष बिनित शर्मा, मेल्टन नेप्लिज कम्युनिटिका अध्यक्ष दिनेश सुवेदी, दिदीबहिनी समाज भिक्टोरियाका प्रभा श्रेष्ठ र शोभा पौडेल, सेन्टरका सचिव डा तिलक पोखरेल, सहकोषाध्यक्ष अनन्त पौडेल लगायतको उपस्थिति रहेको थियो।
अस्ट्रेलियन नेप्लिज मल्टिकल्चरल सेन्टरले आफ्नो मूल उद्धेश्य प्राप्तीको लागि १०० डनकान्स लेन, डिग्गर्स रेस्टमा ४ कोठा सहितको घर भएको करीब १५ एकर (६.०७ हेक्टर) जग्गा किनिसकेको छ।
हाल उक्त भवनलाई अस्ट्रेलियन सरकारद्धारा प्राप्त आर्थिक सहयोगमा मर्मत सम्भार गरी मूल उद्धेश्य प्राप्त नहुन्जेलसम्मको लागि मन्दिरको रुपमा प्रयोग गर्न मिल्ने गरी काम भैरहेको छ।
आफ्नो कला, संस्कृति, रीति, रिवाजलाई आफ्नो पुस्तामा कायम राख्दै भावी पुस्तामा समेत यसलाई निरन्तरता दिनका लागि अष्ट्रेलियाको भिक्टोरिया राज्यमा बसोबास गर्ने नेपालीहरुको साझा घर सामुदायिक केन्द्रको रुपमा पशुपतिना मन्दिर र बौद्ध स्तुपा सहितको बहुसाँस्कृतिक केन्द्र बनाउने अभिप्रायले सेन्टरले यस्ता कार्यक्रमहरु गर्दै आइरहेको छ। |
राहदानी विभागको टोली पोर्चुगलमा लिस्बन। युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग काठमाडौँको टोली पोर्चुगल आइपुगेको छ।
विद्युतीय राहदानीका लागि दरखास्त सङ्कलन गर्न विभागको टोली बुधबार राजधानी लिस्बन आइपुगेको हो।
विभागकी शाखा अधिकृत रञ्जिता दाहाल नेतृत्वको टोलीलाई गैरआवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष रविन अधिकारी, महासचिव राजकुमार थापा, अवैतनिक नेपाली महावाणिज्यदूतावासका प्रतिनिधि छविलाल बगाले, नेपाली महिला समाज पोर्चुगलकी अध्यक्ष माया खरेललगायतले लिस्बनस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।
यसैबीच टोलीअन्तर्गतको नेपाली राजदूतावास पेरिस, फ्रान्सका प्रतिनिधिले बुधबारबाटै राहदानी सेवा दिन सुरु गरेको छ। लिस्बनस्थित अवैतनिक नेपाली महावाणिज्यदूतावासको समन्वय र सहजीकरणमा दूतावासको टोलीले लिस्बनको आन्जुसबाट राहदानी सेवा सुरु गरेको हो।
बुधबार पहिलो दिन राहदानीको म्याद सकिसकेका, क्षति भएका र राहदानी नै नभएका गरी १७ जनाको दरखास्त संकलन गरिएको टोलीका सदस्य एवं नेपाली दूतावास पेरिस, फ्रान्सका तृतीय सचिव दीपेन्द्रप्रसाद साहले जानकारी दिए।
टोलीले राहदानीको म्याद सकिएको, क्षति भएको, हराएको, नष्ट भएको र पोर्चुगलमा जन्मेका नाबालिकका लागि प्राथमिकताका आधारमा सेवा प्रवाह गर्ने पोर्चुगलका लागि अवैतनिक नेपाली महावाणिज्यदूत मकरबहादुर हमालले जानकारी दिए।
झण्डै एक महिनासम्म सञ्चालन हुने राहदानी सेवा शिविरबाट पाँच हजारभन्दा बढी नेपालीले सेवा लिने अनुमान गरिएको छ। टोलीले आगामी अप्रिल २५ सम्म शनिबारबाहेकका दिन राहदानीलगायत सेवा प्रवाह गर्ने बताइएको छ। रासस |
रोजगारीका लागि विदेशमा हुनुहुन्छ? स्वास्थ्यमा समस्या आए यी नम्बरमा सम्पर्क गर्नुस् काठमाडौं। वैदेशिक रोजगार बोर्डले आजदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि टेलिमेडिसिन सेवा सुरु गरेको छ।
वैदेशिक रोजगारीमा रहेका श्रमिकको स्वास्थ्य समस्या सम्बोधनका लागि चिकित्सकको टोलीसहित टेलिमेडिसिन सेवा सुरुआत गरिएको बोर्डले जनाएको छ।
सार्वजनिक बिदाको दिनबाहेक नेपाली कार्यालय समयमा सेवा प्रवाह हुने बोर्डले जनाएको छ।
विदेशमा रहेका नेपालीले ९८५१३४५७०१ र ९८५१३४५७०२ नम्बरमा भाइवर, ह्वाट्स एपा वा इमो लगायतको माध्यममार्फत सम्पर्क गरेर आफ्नो स्वास्थ्य समस्या राख्न सक्ने जनाइएको छ।
फोन तथा अन्य माध्यमबाट श्रमिकले राखेका समस्या सुन्न र समाधान गर्नका लागि मेडिकल अधिकृत खटिएका वैदेशिक रोजगार बोर्डले जनाएको छ।
बोर्डका अनुसार वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई गन्तव्य देशमा भाषा र अन्य विविध समस्याको कारण बिमारी पर्दा सामान्य परामर्श लिन पनि समस्या भइरहेको भन्दै आफ्नै देशमा फोन गरेर आफ्नो स्वास्थ्य समस्या राख्ने व्यवस्था गरिएको छ।
बिरामी श्रमिकलाई थप विशेषज्ञ सेवा आवश्यक परेमा मेडिकल अधिकृतको सिफारिसमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवासमेत उपलब्ध गराइने बोर्डले जानकारी दिएको छ।
आइतबार र शुक्रबार धेरैजसो गन्तव्य देशमा सार्वजनिक बिदा पर्ने भएकाले पनि यस दिन विशेषज्ञ सेवा उपलब्ध गराइने वैदेशिक रोजगार बोर्डले जनाएको छ। |
पाँच महिनादेखि मलेसियामा पाँच नेपाली अलपत्र खाेटाङ। खोटाङका दुईसहित पाँच नेपाली युवा पाँच महिनादेखि मलेसियामा अलपत्र छन्। वैदेशिक रोजगारीको सिलसिलामा गत कात्तिकमा मलेसिया पुगेका उनीहरु नेपालस्थित म्यानपावर कम्पनीका एजेन्टको लापरवाहीका कारण अलपत्र परेका हुन्।
मलेसियामा अलपत्र पर्ने युवामा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-११ खार्मीका सोम मगर, खोटाङकै केपिलासगढी गाउँपालिका-५ सप्तेश्वरका सुजन खड्का, भोजपुरको षडानन्द नगरपालिका-८ दिङ्लाका सुमन तामाङ र प्रकाश तामाङ तथा चितवनको खैरहनी नगरपालिका-१ बहेरीका सनम दराई रहेका छन्।
मलेसियाको जलनसिहलास्थित एउटा घरको कोठामा बन्दी अवस्थामा रहेका उनीहरूले उद्धारका लागि विभिन्न सञ्चारमाध्यममार्फत हारगुहार गरिरहेका छन्।
काठमाडौँको गौशलास्थित उत्सव म्यानपावर कम्पनीमार्फत मलेसिया पुगेका उनीहरूले फ्रि भिसा र फ्रि टिकट भए पनि फरक-फरक एजेन्टलाई फरक-फरक परिमाणको धरौटी रकम बुझाएको पाइएको छ। दैनिक आठ घन्टाका दरले हप्ताको छ दिन काम गर्नुपर्ने सम्झौता भए पनि अहिलेसम्म कुनै कम्पनीले जिम्मा नलिएको खार्मीका सोमले जानकारी दिएका छन्।
“यहाँ ल्याएर छाडेपछि सुरुमा १८ दिन काम लगायो। अहिले हामी आएको पाँच महिना बितिसक्यो। कम्पनीका मान्छे भेट्नसमेत आएका छैनन्”, उनले भने, “नेपालस्थित म्यानपावर कम्पनीका प्रतिनिधिलाई फोन गर्दा विभिन्न बहाना बनाएर धम्की दिन थालेका छन्। हामीलाई बन्दी बनाएर राखिएको छ।” |
युरोपका नेपाली बालबालिकाका लागि नेपाली पाठशाला लिस्बन। युरोपका विभिन्न मुलुकमा रहेका नेपाली बालबालिकालाई लक्षित गरेर नेपाली पाठशाला सञ्चालन गरिने भएको छ। नेपाली नारी समाज पोर्चुगल र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) पोर्चुगलले संयुक्तरूपमा नेपाली पाठशाला सञ्चालन गर्ने भएको हो।
युरोपेली मुलुकमा जन्मेका र हुर्केका नेपाली बालबालिकालाई नेपाली भाषा, कला र संस्कृति सिकाउने उद्देश्यअनुरूप नेपाली पाठशाला सञ्चालन गर्न लागिएको नारी समाज पोर्चुगलकी अध्यक्ष सीता श्रेष्ठ शिवानीले जानकारी दिइन्।
“विदेशी भूमिमा हुर्केका नयाँ पुस्तालाई नेपाली भाषा र नेपाली संस्कृति सिकाउनु हाम्रो दायित्व हो, प्रवासमा रहेका बालबालिकामा नेपालीपनको भावना जागृत गराउने र नेपाली भाषा कला र संस्कृतिको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धन गर्ने हाम्रो मुख्य उद्देश्य हो”, श्रेष्ठले भने।
भर्चुअल माध्यम जुममार्फत नेपालबाट सञ्चालन गरिने पाठशाला यही नयाँ वर्ष २०८० को आरम्भसँगै सुरु हुने बताइएको छ। पाँचदेखि १० वर्ष उमेर समूहका बालबालिकालाई सहभागी गराइने पाठशाला साताको प्रत्येक शनिबार सञ्चालन हुनेछ।
समय अनुकूल मिलाएर विश्वका जुनसुकै मुलुकमा रहेका नेपाली बालबालिकालाई पाठशालामा सहभागी गराउन सकिने समाजले जनाएको छ। पाठशालामा नेपाली भाषासम्बन्धी आधारभूत, सैद्धान्तिक, व्यावहारिक र नेपाली संस्कृतिसम्बन्धी अध्यापन गराइने बताइएको छ।
अनुभवी नेपाली शिक्षिकामार्फत कखरादेखि नेपाली शब्द, वाक्य, अङ्क लेखन र उच्चारण तथा नेपाली भाषा, कला र संस्कृति सिकाइने अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज पोर्चुगलकी अध्यक्ष सवी श्रेष्ठले बताइन्।
पाठशाला नेपाली समयअनुसार दिउँसो २ः४५ बजे र पोर्चुगलको समयअनुसार बिहान ९ः०० बजे सञ्चालन हुनेछ। विदेशी भूमिमा हुर्केका नेपाली बालबालिकालाई पाठशालामा सहभागी गराउन समाजले नेपाली समुदायसँग आग्रह गरेको छ। |
गोरखा सेवा समाज कतारको १२औं साधारणसभा सम्पन्न दोहा। ‘तन, मन, वचन र कर्मले सेवा गरौं।’ भन्ने उद्देश्यका साथ २००३ मा कतारमा स्थापना भएको गोरखा सेवा समाज कतारले आफ्नो १२ औं साधारणसभा सम्पन्न गरेको छ।
शुक्रबारका सनैयास्थित फुलबारी रेस्टुरेन्टको सभाहलमा भएको साधारणसभामा नेपालबाट आएका मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले मानवता प्रवर्द्धन, नेतृत्व क्षमता विकास तथा आमा सेमिनार कार्यक्रम मार्फत सभाकक्षमा उपस्थित दर्शकहरूलाई आत्ममुग्ध परेका थिए।
देशव्यापी रूपमा मानवता प्रवर्द्धन अभियान चलाइरहेका अधिकारीले अबको दुई बर्षभित्रमा नेपालका सडकमा कोहीपनि मानव बेसहारा बन्न नपर्नेगरी मानव सेवा आश्रमले काम गरिरहेको बताए।
नेपालका विभिन्न १३ जिल्लालाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त जिल्ला घोषणा गरिसकिएको छ भने केही जिल्लाहरूमा मानव मन्दिरको गुरूयोजना अन्तर्गतको काम भएको उनले जानाकारी दिए।
गोरखा सेवा समाज कतारका ११औं कार्यकालका अध्यक्ष रामजी खत्रीको नेतृत्वमा रहेको टिमले गोरखा जिल्लाको पोखरीथोकमा रहेको निर्माणाधीन बाल मन्दिर सम्पन्न गर्नका निमित्त पाँच लाख एघार हजार एक सय एघार रूपयाँको चेक हस्तान्तरण गरेको थियो।
समाजको १२औं साधारणसभामा ११औँ कार्यकालको कार्यप्रगति विवरण प्रस्तुत गर्दै समाजका बरिष्ठ उपाध्यक्ष ओम गुरूङले झण्डै ३८ हजार कतारी रियाल समाज हितमा पुण्यदान गरेको बताए।
कार्यक्रम महासचिव विकास श्रेष्ठले सञ्चालन गरेका थिए। कार्यक्रममा दोहामा रहेका विभिन्न वैचारिक संगठन, सामाजिक संस्थाहरूको बाक्लो उपस्थित रहेका थियो।
१२ औं साधरणसभाले ओमराज गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति निर्माण गरेको छ।
यस्तो छ नव गठित कार्यसमिति
अध्यक्ष- ओमराज गुरुङ
वरिष्ठ उपाध्यक्ष- विमल न्यौपाने
उपाध्यक्ष- विकास श्रेष्ठ
उपाध्यक्ष- सुजन धिताल
महासचिव – अर्जुन सङ्ग्रौला
सचिव- रुद्र भट्ट
कोषाध्यक्ष – राजेन्द्र पराजुली
गोरखा नगरपालिका संयोजक- उत्तम श्रेष्ठ
पालुङटार नगरपालिका संयोजक-अशोक श्रेष्ठ
सिराञ्चोक गॉउपालीका संयोजक- सूर्य बहादुर गुरुङ
अजिरकोट गॉउपालीका संयोजक- रविन गुरुङ
आरुघाट गॉउपालीका संयोजक- चन्द्र नेपाली
सदस्यहरू क्रमश:- दिनेश थापा, चित्र बहादुर थापा, इन्द्र बहादुर नेपाली |
बेलारुसमा अलपत्र पारिएका ९ जना महिलाहरुलाई नेपाल फर्काइयो काठमाडौं । बेलारुसमा अलपत्र पारिएका नौ जना नेपाली महिलाहरुलाई आम जनदवाव र सामाजिक अभियन्ताहरु मिलेर स्वदेश फर्काइएको छ ।
स्वदेश फर्किनेमा सानुमाया तामाङ, कविता थापा मगर, अन्जना मगर, रत्नमाया राई, पावती तिलुङ, रमिता राई, सानुमाया तामाङ, मीना गुरुङ र मार्था सोताङ राई गरेर ९ जना नेपाली चेलिहरु रहेका छन् ।
उक्त कार्यमा नेपाल सरकारका विभिन्न निकायहरु विशेषत रुसमा रहेका नेपाली राजदूताबास, नेपालको कन्सुलर विभाग, वैदेशिक रोजगार विभाग, नेपाल प्रहरीको राम्रो साथ सहयोग प्रदान भएको सामाजिक अभियन्ता कृतु भण्डारीले जानकारी दिएकी छिन् ।
उनले भने, ‘यो कार्यमा नेपाल सरकारका विभिन्न निकायहरु विशेपत रुसमा रहेका नेपाली राजदूताबास नेपालको कन्सुलर विभाग, वैदेशिक रोजगार विभाग, नेपाल पहीले पनि यसमा राम्रो साथ सहयोग प्रदान गरेको छ । विभिन्न राजनीतिक दलहरुले यसमा चासो राखी उत्प्रेरणा प्रदान गरेको, एक राजनीतिक दल नेकपा एकीकृत समाजवादीले वक्तव्य नै जारी गरी नेपाल सरकारलाई दवाव सिर्जना गरेको र आम नागरिकहरुले विभिन्न तरिकाले सहयोग प्रदान गर्नुभएको छ ।’
उनले ९ जना महिलाहरुलाई गलत कागजात बनाई विदेशमा अलपत्र पार्नेहरुको खोजी गरी कानूनी कारवाहीको साथै ठगी वा मानव बेचविखनको आपराधिक जालोमा नपर्ने प्रकारको कानूनी व्यवस्था र आधुनिक प्रणालीहरुको व्यवस्था गर्न माग गरेकी छिन् ।
वैदेशिक रोजगारमा जानका लागि कुनै पनि प्रकारको स्वीकृति दिने सरकारी निकाय भएपनि यस्तो कार्यबाट सिर्जित समस्या विभागको कार्यक्षेत्र भित्र नपर्ने व्याख्या गरेको भन्दै यस्तो कामको जिम्मेवारी सरकारले लिनुपर्ने पनि उनको भनाई छ ।
यस विषयप्रति चासो देखाउदैँ उत्प्रेरणा प्रदान गर्ने नेकपा एकीकृत समाजवादी, आम नागरिक र प्रतिनिधि संगठन अखिल नेपाल महिला संघलगायत सम्पूर्ण सहयोगी हातहरुलाई पनि उनले धन्यवाद ज्ञापन गरेकी छिन् । |
राहदानी विभागको टोली पोर्चुगल आउने लिस्बन। युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभागको टोली पोर्चुगल आउने भएको छ। विद्युतीय राहदानीका लागि दरखास्त सङ्कलन गर्न विभागको टोली यही मार्च २९ मा पोर्चुगल आउने भएको हो।
लिस्बनस्थित अवैतनिक नेपाली महावाणिज्य दूतावासको समन्वय र सहजीकरणमा टोलीले करिब एक महिना राजधानी लिस्बनमा रहेर राहदानी सेवा प्रदान गर्ने पेरिसस्थित नेपाली दूतावासले जनाएको छ।
पोर्चुगलमा रहेका नेपालीलाई सेवा प्रदान गर्न विभागबाट खटिएको टोलीसँगै दूतावासका कर्मचारीको समेत सहभागिता रहने फ्रान्सका लागि नेपाली राजदूत दीपक अधिकारीले जानकारी दिए।
टोलीले राहदानीको म्याद सकिएको, क्षति भएको, हराएको, नष्ट भएको र पोर्चुगलमा जन्मेका नाबालिकका लागि प्राथमिकताका आधारमा सेवा प्रदान गर्ने राजदूत अधिकारीले बताए।
विशेषतः पोर्चुगलको अध्यागमन र सीमा सेवा (सेफ) बाट अपोइन्टमेन्ट पाइसकेका तर राहदानीको म्याद सकिसकेका, क्षति भएका र राहदानी नै नभएकाका लागि पहिलो प्राथमिकतामा सेवा प्रवाह गरिने उनले बताए।
दूतावासका अनुसार राहदानीको म्याद सकिएका, राहदानी नष्ट भएका र राहदानी हराएकाहरुलाई सेवा प्रदान गरिने छ। एक महिने राहदानी सेवा शिविरका लागि लिस्बनको आन्जुसमा कार्यालय स्थापना गरेर सेवा प्रवाह गर्ने तयारी भइरहेको अधिकारीले बताए। |
एनआरएनए युएई र एनएबीच एकता, ठाकुर ढुंगानाको नेतृत्वमा नयाँ कार्यसमिति युएई। गैरआवासिय नेपाली संघ एनआरएनए युएई र नेपाल एसोसियसनबीच एकता भएको छ। दुवै संस्थाले संयुक्तरुपमा वार्षिक भेला सम्पन्न गरेर विश्वभर रहेका गैरआवासिय नेपालीलाई सकारात्मक सन्देश दिन सफल भएका छन्।
दुवै संस्थालाई एकतावद्ध गराउन एनआरएनए मध्यपूर्वका संयोजक मनोज गोर्खाली, नेपाली जनप्रगतीशिल मञ्च युएईका अध्यक्ष बाबुराम बिश्वकर्मा, नेपाली जनसम्पर्क समिति युएईका सभापती भुवानी प्रसाद तिमल्सिना, एनआरएनए युएईका पुर्व अध्यक्ष एबं प्रमुख संरक्षक रमेश श्रेष्ठ, एनआरएनए युएईका अध्यक्ष ठाकुर प्रसाद ढुंगानालगायतले पहल गरेका थिए।
संयुक्त बार्षिक भेलाले एनआरएनए युएईका अध्यक्ष ठाकुर प्रसाद ढुंगानाको नेतृत्वमा आगामी कार्यकालका लागि ४३ सदस्यीय कार्यसमितिसमेत चयन गरेको हो । यो एकता भेलाले एनआरएनए आइसीसीलाई समेत एकताको लागी सोच्न बाध्य बनाएको छ।
नवगठित कार्यसमितिको प्रमुख संरक्षकमा रमेश श्रेष्ठ र सल्लाहकारमा बाबुराम बिश्वकर्मा,भुवानी प्रसाद तिमल्सिना,टक गुरुङ, प्रमोद श्रेष्ठ, शशी सिलवाल र मेघराज सापकोटालाई नियुक्त गरिएको छ।
यसैगरी वरिष्ठ उपाध्यक्षमा पासाङ शेर्पा, उपाध्यक्षहरुमा निरन्जन सिलवाल, विकास शाही, मदन अधिकारी, सुजन सापकोटा, शोभा शर्मा, रमेश ढकाल, केशव नेपाल,मनोज कुमार सैजु र कृष्ण ठाकुर चयन भएका छन् भने महिला उपाध्यक्षमा सोनाम श्रेष्ठ चयन भएकी छिन्।
यस्तै महासचिवमा दीपक खड्का, सचिवमा पुस्कर सापकोटा, ताराबहादुर बोहरा, सुमन पराजुली, बिरेन्द्र नकर्मी , मुन्ना साम्सुल हक , निराजन खत्री र भुन बहादुर भुजेल’सुरेन’ चयन भएका छन् भने कोषाध्यक्षमा बिष्णुलाल श्रेष्ठ तथा सहकोषाध्यक्षमा रमेश गौतम र प्रकास थापा चयन भएका छन्।
यसैगरी युवा संयोजकमा भिम मल्ल ठकुरी, युवा सह–संयोजकमा अपिल भट्टराई र महिला संयोजकमा मन्जु मल्ल चुनिएका छन्।
केन्द्रीय सदस्यहरुमा जनक पराजुली, सुमी गहतराज, बिनोद बस्नेत, कृष सुनार, तुलसीराम भुसाल, नवराज श्रेष्ठ, ईश्वर श्रेष्ठ, बिक्रम तामाङ्ग, प्रेमबहादुर शाही, शैलेन्द्र खड्का, अशोक केसी, सुनिल कटुवाल, जीवनसिंह ठकुरी, किरनकुमार राई र एलिना फूयाँल चयन भएका छन्।
कार्यक्रममा नेपाली दुतावासका कार्यवाहक राजदुत विशाल भट्टराईले एनआरएनए युएईले गरेका कार्यको प्रंशसा गर्दै यो एकताले दुतावासलाई अझै सहज भएको र आगामी दिनमा सहकार्य गर्दै अगाडी बढ्ने बताए।
एनआरएनए उपाध्यक्ष धर्मराज अधिकारीले दुई सँस्था एकता भएकोमा आफू अत्यन्तै खुशी भएको बताउदै नवनिर्वाचित कार्यसमितिलाई शुभकामना ब्यक्त गरे। उनले आफूले पनि युएईमा ब्यावसाय सुरु गरेकाले यो एनसिसिसँग अत्यन्त नजिकको सम्वन्ध रहेको जनाउदै नवनियुक्त अध्यक्ष ढुङ्गानाले धेरै कार्य गर्नेमा आफू बिश्वस्त रहेको बताए।
एनआरएनए युएई र नेपाल एशोसिएसनबीचको एकताले विश्वभर रहेका गैरआवासीय नेपालीहरुमा एकताको सन्देश गएको भन्दै एनआरएनए आइसीसीका उपाध्यक्ष राजेन्द्र कुमार शर्माले एउटै उद्देश्य बोकेका संस्थाहरु एकतावद्ध गर्दै जान यो एकता भेलाले पाठ सिकाएको बताए।
उनले आफू कार्यक्रममा उपस्थित हुन नसकेमा क्षमायाचना गर्दै सामाजिक संजालमा युएईमा सम्पन्न एकता भेलाबाट आइसीसीले पनि सिक्न जरुरी रहेको जनाउदै अब हामी सबै एक भएर अघि बढनुको विकल्प नभएको बताए।
यस्तै कार्यक्रममा एनआरएन मध्यपुर्व संयोजक गोर्खालीले यो एकताले आफू अत्यन्तै खुशी रहेको जनाउदै एकता अभियानमा साथ दिने सबैलाई धन्यवाद ब्यक्त गरे। गोर्खालीले आफूहरुले यो एकता गरेर विश्वलाई उदाहरणको रुपमा सन्देश दिएको बताए।
उनले नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना ब्यक्त गर्दै युएईमा रहेका नेपालीहरुको समस्या समाधानका लागी आफू चौबिसै घण्टा तयार रहेको बताए।
|
पिरामिडको देशमा मनाइयो नेपाली वसन्त उत्सव काठमाडौं । इजिप्टस्थित नेपाली राजदूतावासको आयोजनामा राजधानी कायरोमा शनिबार ‘नेपाली वसन्त उत्सव, २०२३’ मनाइएको छ ।
नेपाली बालबालिकाको स्वागत नृत्य प्रस्तुतिबाट सुरु भएको उक्त कार्यक्रममा इजिप्टका प्रथम सगरमाथा आरोही ओमार साम्राले नेपाली कला, संस्कृति र परम्पराको विविधता तथा सम्पन्नताको वर्णन गर्दै आफूले सगरमाथा आरोहण गर्दाको अनुभवबारे प्रवचन दिएका थिए ।
अर्का सगरमाथा आरोही शरीफ ओबाल्डले साहसिक खेलका लागि नेपालका अद्वितीय स्थानको वर्णन गर्दै त्यस्ता खेलले मानिसलाई शारीरिक, मानसिक एवं भावनात्मकरूपमा स्वस्थ राख्न महत्वपूर्ण भूमिका निर्वाह गर्नेबारे चर्चा गर्नुभएको इजिप्टस्थित नेपाली दूतावासले जनाएको छ ।
कार्यक्रममा इजिप्टका लागि नेपाली राजदूत सुशीलकुमार लम्सालले यस कार्यक्रमले इजिप्टका नागरिकमाझ नेपालको अद्भूत प्राकृतिक तथा सांस्कृतिक सम्पदा एवं पर्यटकीय आकर्षणबारे जानकारी हुने बताए ।
उनले दुई देशबीच जनस्तरको सम्बन्ध थप प्रगाढ बनाउन यस्ता कार्यक्रम आवश्यक पर्ने उल्लेख गरे। कायरोस्थित विश्वस्वास्थ्य सङ्गठनमा कार्यरत खुस्बु गुप्ताले योग प्रणालीको उन्नयनमा योगभूमि नेपालको योगदानबारे चर्चा गर्दै योगाभ्याससहित एक प्रयोगात्मक प्रस्तुति गरेकी थिइन् । पूर्वराजदूत अब्दुल फत्तेहले महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा रचित ‘घाँसी’ कविताको अरबी अनुवाद पढेर सुनाएका थिए ।
त्यसैगरी नेपालका लागि इजिप्टका अर्का पूर्वराजदूत इमाम मुस्तफाले नेपाल तथा इजिप्टबीचको द्विपक्षीय सम्बन्धका बारेमा चर्चा गरेका थिए। कायरोस्थित संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषमा कार्यरत अमित ढुङ्गेलले नेपालको सांस्कृतिक धरोहरलाई इजिप्टमा चिनाउन यो कार्यक्रम धेरै उपयोगी हुने बताए ।
आगामी दिनमा पर्यटन प्रवद्र्धनात्मक गतिविधिलाई निरन्तरता दिएर इजिप्टका नागरिकलाई नेपाल भ्रमण गर्न प्रोत्साहित गर्न सकिने प्रशस्त सम्भावना रहेको उनले औँल्याए । कार्यक्रममा नेपाली सांस्कृतिक नृत्य प्रस्तुतिका साथै फागूपूर्णिमाको अवसरमा रङ्गोत्सव मनाइएको थियो । कार्यक्रममा कायरोस्थित विभिन्न मुलुकका राजदूत तथा कूटनीतिज्ञ, पत्रकार, व्यवसायी, विद्यार्थी एवं अन्य विशिष्ट व्यक्ति गरी करिब एकसय जना बढीको सहभागिता थियो ।
सो अवसरमा नेपालको झन्डा, पशुपतिनाथ मन्दिर र बुद्धका मूर्ति, गैँडा, हात्ती, करुवा, मुखुन्डो, खुकुरी, मयुर आँखी झ्याल, सिंगिङ बाउल, मादल, मुर्चुङ्गा एवं ढाकाका सजावट सामग्रीसहित नेपाली मौलिक कला तथा संस्कृति झल्किने विविध कलाकृति तथा हस्तकलाका सामग्री प्रदर्शन गरिएको थियो । साथै नेपालको पर्यटन प्रवद्र्धनसँग सम्बन्धित पुस्तिका र पोस्टर वितरण एवं नेपाल पर्यटन बोर्डद्वारा निर्मित नेपालबारे जानकारीमूलक श्रव्यदृश्यसमेत प्रस्तुत गरिएको थियो । |
नेपाली महिला पाईलट समूहले पहिलो पटक गरे अन्तर्राष्ट्रिय उडान लण्डन । काठमाण्डौं–युएई तर्फको उडानमा पहिलो पटक नेपाली महिला पाइलटको टोलीले आफ्नो उडान सफलतापूर्वक भरेका छन् ।
आइतवार, नेपाल वायुसेवा निगमको इतिहासमा पहिलो पटक दुई जना महिला पाइलटले सँगै उडान गरेको पाइलट भावना पन्तले जनाएकी छन् । उनीसंगै को– पाईलट शृजना रावत उडानमा रहेकी थिइन् ।
उनले महिलाहरुको सो अन्तर्राष्ट्रिय उडान गर्न पाउदा आफुलाई भाग्यमानी ठानेको बताउँदै हौसला प्रदान गर्ने लाखौं शुभचिन्तकहरु प्रति धन्यवाद दिएकी छन् ।
उनीहरुले विमान युएई विमान स्थलमा पुगे पछि गैरआवासीय नेपाल संघ (यूएई) ले उनीहरुलाई भव्य स्वागत गरेको गैरआवासीय नेपाली संघका प्रवक्ता सोम सापकोटाले जानकारी दिए ।
सो सम्मानको लागि गैरआवासीय नेपाली संघको यूरोप क्षेत्रीय संयोजक मनोज गोर्खाली, एनआरएनए युएईका उपाध्यक्ष निरंजन सिलवाल र शोभा शर्मा विमानस्थल पुगेका थिए । |
एक लाख जनसहभागिता हुने पाको फेस्टामा नेपाल प्रबर्द्धन जिलोङ, अस्ट्रेलिया। अस्ट्रेलियाको भिक्टोरिया राज्यमा बर्षेनी मनाइने अष्ट्रेलियाकै ठूलोमध्येको बहुसांस्कृतिक महोत्सव पाको फेस्टामा नेपालीहरुको संस्था ग्रेटर नेपाली समाजले नेपालको प्रबर्द्धन गरेको छ।
सन् १९८३ बाट शुरु भएको र नेपालीहरुको पहिलो सहभागिता २०१३ देखि भएको यो बहुसांस्कृतिक महोत्सव पाको महोत्सबमा ग्रेटर जिलोङ नेपाली समाजले नेपाललाई वुद्ध र सगरमाथाको देश र बहुभाषिक/बहुसांस्कृतिक देशको रुपमा प्रस्तुति र प्रबर्द्धन गरेको हो।
भिक्टोरियास्थित जिलोङ शहरमा प्रत्येक बर्षको अन्तिम शनिवार आयोजना गरिने उक्त महोत्सवमा बिभिन्न देशका करिब १ लाखको सहभागिता थियो। सहभागी नेपालीहरुले साँस्कृतिक पहिचान झल्कने झाँकीहरु, कला तथा संगीत र नेपाली नृत्य समेत प्रस्तुत गरेका थिए।
विगत सवा दशकदेखि यो महोत्सबमा सहभागीको संख्या एक लाखभन्दा बढी हुने गरेको छ। पहिलो वर्षबाटै महोत्सवमा नेपाल झल्काउने पहिरन, नेपाली झन्डा, ब्यानरसहितको परेड र स्टलमा नेपाललाई बुद्ध र सगरमाथाको देशको रुपमा मात्रै नभएर कुमारीको देशको रुपमासमेत चिनाउने काम भएको थियो। कुमारीको रुपमा मिस नेपाल अस्ट्रेलिया २०१२ दीपाश्री शाह थिइन जस्ले स्थानिय पत्रिकामा राम्रो स्थान प्राप्त गरेको थियो।
परेडमा ८० वर्षिया दिल माया श्रेष्ठ (कान्छी) नेवारी पहिरनमा सहभागी भएकी थिइन् भने चौधरी समूहले आफ्नो भेषभुषामा लट्ठी नाच प्रदर्शन गरेको थियो। कार्यक्रममा प्रमिला तामाङद्वारा ‘नेपालकी छोरी हुँँ म’ गीतमा नृत्य प्रस्तुत गरिएको थियो।
यो महोत्सब नेपाल प्रबर्द्धन गर्ने राम्रो प्लाटफर्म हुने भएकोले वेलायतबाट अस्ट्रेलिया स्थानान्तर भएपछि सबै प्रकृया नियमानुसार पूरा गर्दा समयाभाव हुने देखेर आयोजक संस्था डाइभर्सिटाटसँग केही बिशेष मिटिङ समेत गरी महोतसबमा २०१३ देखि नेपालीलाई सहभागिता गराउन पहल गर्ने लुम्बिनी-कपिलवस्तु विश्व अभियानका विस्व संयोजक एवं अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजका विश्व सल्लाहकार रामकुमार श्रेष्ठ, दिदी-बहिनी समाज भिक्टोरियाकी प्रतिनिधि प्रभा श्रेष्ठ, ग्रेटर जिलोङ नेपाली समाजका अध्यक्ष डा सन्तोष पाण्डे लगायत अन्य पदाधिकारीहरुको परेडमा सहभागी थिए।
|
बर्लिनस्थित नेपाली दूतावासले भन्यो- गैरकानुनी रूपमा युक्रेन नपस्नु, दूतावास जिम्मेवार हुँदैन काठमाडौं। युद्धग्रस्त मुलक युक्रेनमा अहिले पनि नेपाली जाने गरेको पाइएको छ।
युक्रेन मामिलासमेत हेर्दै आएको जमर्नीको बर्लिनमा रहेको नेपाली दूतावासका अनुसार अहिले पनि नेपालीहरू विभिन्न माध्यमबाट युक्रेन पुग्ने गरेका छन्। त्यहाँबाट सिमावर्ती युरोपेली मुलकमा प्रवेश गर्न पाइने आशामा नेपालीहरू जोखिम मोलेर युक्रेन पसिरहेको दूतावासको भनाइ छ।
विगत १ वर्षदेखि रुस र युक्रेनबीच युद्ध चलिरहेको छ। युद्ध चर्किएसँगै युक्रेनमा रहेका ६ सयभन्दा बढी नेपालीलाई गैरआवासीय नेपाली संघ तथा विभिन्न अन्तर्राष्ट्रिय संघ-संस्थाको समन्वयमा दूतावासले त्यत्तिबेला उद्धार गरेको थियो।
युद्ध चर्किएपछि त्यत्तिबेला उनीहरूलाई युक्रेनसँग जोडिएका छिमेकी मुलुकहरूले मानवीयताको हिसाबले सुरक्षित रहन प्रवेश दिएका थिए। तीमध्ये कतिपय नेपाल फर्किएका थिए भने केही नेपालीहरू पोल्याण्ड, पोर्चुगललगायतका मुलकमा बसेका थिए।
तर, अहिले भने यस्तो सुविधा छिमेकी मुलुकहरूले दिएका छैनन्। दूतावासका अनुसार गत जनवरी तेस्रो सातादेखि युक्रेनसँग सिमाना जोडिएका युरोपेली मुलकहरूले युक्रेनमा रहेका नेपालीलगायत अन्य देशका नागरिकहरुलाई आफ्नो देश प्रवेश गर्न नदिने घोषणा गरिसकेका छन्।
तर, नेपालीहरू भने पहिला जस्तै युरोप प्रवेश गर्न पाइने आशामा जोखिम मोलेर युद्धग्रस्त मुलुक युक्रेन पुग्ने गरेका छन्। विभिन्न प्रलोभनमा परी नेपाली युक्रेन छिर्न थालेको दूतावासको भनाइ छ।
‘यस्तो विषम परिस्थितिमा पनि विभिन्न प्रलोभनमा परी वा स्वेच्छाले यूक्रेनको यस्तो जटिल अवस्थाबाट फाइदा लिइ युरोपका अन्य मुलुकमा प्रवेश गरी पलायन हुने मनासायका साथ अझ पनि केही नेपालीहरू गैर–कानूनी रुपमा युक्रेन प्रवेश गरिराखेको बुझिएको छ,’ बर्लिनस्थित नेपाली दूतावासको भनाइ छ।
गैरकानूनी तवरले युक्रेन प्रवेश गर्ने नेपालीलाई त्यहाँबाट सिमावर्ती देशमा जान सम्बन्धित मुलकको युक्रेनस्थित दूतावास वा सिमानामा रहेको अध्यगामनबाट भिसाको आवश्यकता पर्दछ। तर, गत जनवरीदेखि यी प्रक्रिया सबै बन्द भइसकेका छन्।
‘युक्रेनमा हाल अन्तर्राष्ट्रिय उडान समेत स्थगित भएको सन्दर्भमा यस राजदूतावासबाट यात्रा अनुमति जारी भइ त्यहाँबाट बहिर्गमन हुनसक्ने अवस्था पनि नभएकोले कुनैपनि नेपाली नागरिकले कसैको प्रलोभनमा परी वा स्वेच्छाले कुनै पनि माध्यमबाट युक्रेन प्रवेश नगर्न यस राजदूतावास सबैलाई अनुरोध गर्दछ,’ दूतावासले विज्ञप्तिमार्फत भनेको छ।
दूतावासले गैरकानूनी तवरले युक्रेन प्रवेश नर्गन चेतावनी दिएको छ। जोखिम मोलेर युक्रेन पुगि समस्यामा परे त्यस्ता व्यक्तिलाई कुनै पनि सहयोग गर्न नसकिने दूतावासले जनाएको छ।
‘यस्तो अवस्थामा पनि यो सूचनालाई वेवास्ता गरी गैर कानूनी रुपमा युक्रेन प्रवेश गरेमा त्यसबाट उत्पन्न हुने असहज परिस्थितिका लागि सम्बन्धित व्यक्ति स्वयं जिम्मेवार हुने जानकारी गराइन्छ,’ दूतावासले भनेको छ। |
प्रवासी नेपाली संघ भारतको आठौं केन्द्रीय सम्मेलन: अध्यक्षमा हुमागाईं निर्वाचित नयाँ दिल्ली। प्रवासी नेपाली संघ भारतको आठौँ केन्द्रीय सम्मेलन मंगलबार सम्पन्न भएको छ। १९ देखि २१ फरवरी, २०२३ सम्म महाराष्ट्रको पुणे शहरमा आयोजित सम्मेलनले संघका पूर्व उपाध्यक्ष नारायणप्रसाद हुमागाईंलाई सर्वसम्मतिले अध्यक्षमा चयन गरेको हो।
सम्मेलनमा सहभागी प्रतिनिधिप्रति उत्तरदायी र जवाफदेही सम्मेलन कक्षबाट राज्य, राज्यबाट निर्वाचित केन्द्रीय कमिटीले आफ्नो पदाधिकारीको चयन गरेको हो।
सम्मेलनलाई नेकपा एमालेका महासचिव तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोखरेलले दीप प्रज्जवलसँगै समुद्घाटन गरेका थिए। भारतस्थित प्रवासी नेपाली समुदायमाझ क्रियाशील संघसंस्थाको प्रतिनिधित्वसहित नेकपा एमालेको नेतृत्व सहभागी सम्मिलित सम्मेलनमा भारतभरिका १२ वटा राज्य तथा संयुक्त राज्यका प्रतिनिधि, कलाकार र स्वयंसेवकको उपस्थिति रहेको थियो।
आठौँ अखिल भारत प्रवासी नेपाली सम्मेलनले नारायणप्रसाद हुमागाईंको अध्यक्षमा ७५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको छ।
उपाध्यक्षमा हरियाणा राज्यबाट सीता अधिकारी, सचिवमा महाराष्ट्र राज्यबाट डम्बर रावल, महाराष्ट्रकै नासिकबाट उपसचिवमा गिरिराज बेलबासे र अर्को उपसचिवमा चेन्नईबाट कृष्णप्रसाद पोखरेल निर्वाचित भएका छन्।
प्रवासी नेपाली संघ भारत संस्थापक नेता लक्ष्मण रायमाझीको अध्यक्षतामा हरिप्रसाद घिमिरे, युवराज बास्कोटा, तिलबहादुर विश्वकर्मा र ईश्वरी भण्डारी सम्मिलित ५ सदस्यीय अध्यक्षमण्डलले निर्वाचन समालेको थियो। प्रवासी नेपाली संघ भारत नेकपा एमाले संवद्ध जनवर्गीय संगठन हो।
नेकपा (एमाले) ले नवौ महाधिशेन पूर्व भारतलाई अञ्चल स्तरीय कमिटिको दर्जा दिएको थियो। नवौं महाधिशेन पश्चात केही समय अस्तव्यस्त भएता पनि प्रवासी नेपाली संघ भारत अहिले नेकपा (एमाले)को प्रदेश स्तरीय कमिटी हो। |
माघमा ६४ हजार बढीले लिए श्रम स्वीकृति काठमाडौं। गत माघमा ६४ हजारभन्दा बढी नेपालीले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका छन्।
वैदेशिक रोजगार विभागका अनुसार, माघमा ५८ हजार चार सय ४७ पुरुष र पाँच हजार आठ सय ३७ जना महिला गरी कूल ६४ हजार दुई ८४ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका हुन्।
यो सङ्ख्या पहिलोपटक वैदेशिक रोजगारीमा जान व्यक्तिगत श्रम स्वीकृति लिने, संस्थागत नयाँ श्रम स्वीकृति लिने र पुनः श्रम स्वीकृति लिनेको हो।
यसैगरी नयाँ श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ३९ हजार एक सय २४ जना रहेको छ । जसमा चार हजार दुई सय ६६ जना महिला र ३४ हजार आठ सय ५८ जना पुरुष रहेको विभागले जनाएको छ।
जसमा सबैभन्दा धेरै मलेसिया जानका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या १९ हजार सात सय ८३ जना रहेको छ।
कतार जानका लागि १२ हजार सात सय चार जना, साउदीका लागि १० हजार पाँच सय ७६ जना, युएईका लागि नौ हजार सात सय ७० जना र कुवेतका लागि दुई हजार नौ सय ९२ जनाले श्रम स्वीकृति लिएका छन्।
साइप्रसका लागि चार सय १७ जनाले, क्रोएसियाका लागि चार सय ७१ जनाले, जापानका लागि आठ सय ८२ जनाले, माल्टाका लागि दुई सय ७० जनाले, पोल्याण्डका लागि सात सय २० जनाले, पोर्चुगलका लागि ४५ जनाले र रोमानियाका लागि आठ सय चार जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ। |
कतारको राष्ट्रिय खेलकुद दिवसमा नेपाली दूतावास बन्द हुने काठमाडौं। कतारको राष्ट्रिय खेलकुद दिवसको अवसरमा त्यहाँस्थित नेपाली राजदूतावास बन्द हुने भएको छ।
२ फागुन २०७९ अर्थात १४ फेब्रअरी २०२३ को दिन दूतावास कतारस्थित नेपाली दूतावास बन्द हुन लागेको हो।
कतारस्थित नेपाली दुतावासका अनुसार कतार सरकारले राष्ट्रिय खेलकुद दिवसको अवसरमा सार्वजनिक विदा दिएकोले उक्त दिन अत्यावश्यक काम बाहेक सबै बन्द रहने छ।
कतारले हरेक वर्षको १४ फेब्रअरीमा ‘नेशनल स्पोर्ट डे’ मनाउँदै आएको छ । त्यो दिन कतारभर सार्वजनिक विदा दिने गरिएको छ। |
अस्ट्रेलियाको भिक्टोरियामा सामुहिक ब्रतबन्ध अस्ट्रेलिया। अस्ट्रेलियाको भिक्टोरिया राज्यको बेन्डिगो शहरमा अवस्थित गणेश मन्दिर (नेपालीद्धारा भिक्टोरियामा बनाइएको पहिलो मन्दिर) परिसरमा आयोजना गरिएको पहिलो सामुहिक ब्रतबन्ध सम्पन्न भएको छ।
कार्यक्रममा भिक्टोरिया निवासी सात र क्यानडादेखि घुम्न आएका एक गरी ८ जनाको सामुहिक ब्रतबन्ध परम्परागत बिधिपुर्वक पण्डित शंकर प्रसाद गौतमद्धारा गराइएको थियो।
सम्पन्न कार्यक्रमपश्चात गरिएको समालोचनात्मक छलफलका आधारमा ८ जनाको सहभागिता ठिक्कको संख्या भएको र सहभागी प्रत्येकलाई ब्रतबन्ध गर्दा अपनाइनुपर्ने परम्परागत सम्पूर्ण बिधिमा राम्रोसँग सहभागी गराउन भबिष्यमा बढीमा १० जनासम्मलाई संलग्न गराइ कार्यक्रम गर्न सकिने धारणा बनेको छ।
सामुहिक ब्रतबन्धको लागि आवश्यक सम्पूर्ण सामग्रीको ब्यवस्थापन र अन्य ब्यवस्थाको लागि संयोजनको भूमिका उमेश श्रेष्ठद्धारा गरिएको थियो। कार्यक्रम गर्दा उठेको रकमबाट सम्पूर्ण खर्च कटाएर बाँकी रकम मन्दिर बिस्तारको योजनामा खर्चिइनेछ।
कार्यक्रममा नेपाल सरकारका सचिव, राष्ट्रिय योजना आयोगका सल्लाहकार, निर्वाचन आयुक्त जस्ता थुप्रै जिम्मेवारी बहन गरिसकेका विश्वमान श्रेष्ठ, लुम्बिनी-कपिलवस्तु विश्व अभियानका विश्व सल्लाहकार रामकुमार श्रेष्ठ, पूर्व सह सचिव एवं लेखिका तथा साहित्यकार मोतीशोभा श्रेष्ठ लगायत १०० जना बढीको उपस्थिति थियो।
|
किर्गिजस्तानमा एनआरएनएको ८६औं शाखा गठन, अध्यक्षमा भण्डारी चयन लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) को ८६ औं राष्ट्रिय समन्वय समिति (एनसीसी) किर्गिजस्तानमा स्थापना भएको छ ।
गैरआवासीय नेपाली संघको आयोजनामा किर्गिजस्तानमा रहेका नेपालीहरुको संयुक्त भर्चुअल भेलाले ११ सदस्सीय नयाँ तदर्थ समिति गठन गरेको हो ।
भेलाले डा. किशन भण्डारीको अध्यक्षमा नयाँ समिति गठन गरेको छ । राष्ट्रिय समितिको उपाध्यक्षमा डा. कृष्णप्रसाद बडाल, महासचिव डा.रवि रोशन खड्का, सचिव रन्जिता थापा मगर, कोषाध्यक्ष मिना ज्ञवाली, महिला संयोजक नम्रता शर्मा, र सदस्यहरुमा डा. सुरेन्द्र प्रसाद शाह, डा. अहमदुल्ला मोहम्मद, अविशेक गौचन, राम बहादुर वन र शिला आचार्य रहेका छन् । |
टर्की भूकम्पः ८ नेपाली सम्पर्कमा हुँदा, ३ जना सम्पर्क बाहिर टर्की । टर्कीमा गएको भूकम्पको ‘इपिसेन्टर’बाट ८ जना नेपाली सम्पर्कमा आएका छन्।
भूकम्प गएको गाजियान्टेपबाट अहिलेसम्म ८ नेपाली सम्पर्कमा आएको र उनीहरू सबैजना सुरक्षित रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) टर्कीले जनाएको छ।
‘अहिलेसम्म गाजियन्टेपबाट ३ जना नेपाली महिला र ५ जना विद्यार्थी हाम्रो सम्पर्कमा आउनु भएको छ’, एनआरएनए टर्कीका महासचिव बिनोद पौडेलले भने, ‘उहाँहरु सबै सकुशल र सुरक्षित हुनुहुन्छ। हामी निरन्तर सम्पर्कमा छौँ’ विद्यार्थीमध्ये एक छात्र हुन्।
त्यो ठाउँबाट थप नेपाली भने सम्पर्कमा नआएको उनले बताए।
एनआरएनएको सम्पर्कमा आएका ती ८ जना नेपाली अहिले स्थानीय सरकारले व्यवस्था गरेको सेल्टरमा छन्। ‘अघि बिहान पनि मसँग कुरा भएको थियो। उहाँहरु पूर्ण रुपमा सुरिक्षत हुनुहुन्छ,’ उनले भने। सेल्टरमा रहेकाहरुलाई खाना लगायत सबै आवश्यक व्यवस्था सरकारले नै गरेको छ। टर्कीमा विपद तथा जोखिम व्यवस्थापनका लागि आपत्तकालीन राहत उद्धार समिति छ। उक्त समितिले राहत र उद्धारको काम गरिरहेको छ। रेडक्रसलगायतका परोपकारी संस्थाहरुले पनि राहत र उद्धारमा समन्वय गरिरहेका छन्।
महासचिव पौडेलका अनुसार भूकम्प प्रभावित क्षेत्रमा अरू क्षेत्रका उद्धारकर्मी पनि पुगेका छन्।
‘यहाँ प्रत्येक नगरपालिकमा पनि ‘रेस्क्यू टीम’ बनाइएको हुन्छ। भूकम्पले क्षत्ति पुर्याइएको ठाउँहरूमा अन्य नगरपालिकाले आफ्नो टीम परिचालन गरेर उद्धार र राहत वितरणको काम गरिरहेको छ। अन्य नगरपालिकाहरुले लत्ता–कपडा, खानाहरू पठाएको छ,’ उनले भने।
टर्कीमा अहिले झण्डै २ हजारभन्दा धेरै नेपाली रहेको एनआरएनएको अनुमान छ। इस्तानबुल, अकांरा, इज्मिर, अन्टालिया, बोर्डुमलगायतका शहरमा नेपालीहरु बढी छन्। भूकम्पले इपिसेन्टर बनाएको गाजियन्टेपमा भने नेपालीको संख्या न्यून छ।
कोभिड महामारीअघि टर्कीमा नेपालीको संख्या ४ हजारभन्दा बढी थियो। तर, महामारीका कारण श्रम बजार बिग्रिएपछि टर्कीमा नेपालीको संख्या आधा घटेको महासचिव पौडेलको भनाइ छ। कोभिडले रोजगारी गुमाएपछि कतिपय नेपाली स्वदेश फर्किएका थिए भने केही त्यतैबाट युरोपतिर हानिएका थिए।
भूकम्पबाट कोही नेपाली समस्या परेको भएमा आफूहरुको सम्पर्कमा आउने एनआरएनए टर्कीले सामाजिक सञ्जालमार्फत अनुरोध गरेको छ। ‘सामाजिक सञ्जालमार्फत समन्वय गरिरहेका छौँ। अहिलेसम्म नेपालीलाई त्यस्तो दुस्खद घटना भएको भन्ने जानकारी आएको छैन। अन्य सहरमा रहेका नेपालीसँग पनि हामीले सम्पर्कका लागि प्रयास गरिरहेका छौँ,’ उनले भने। भूकम्पबाट पीडत नेपालीलाई एनआरएनएले उद्धार गर्ने महासचिव पौडेलको भनाइ छ।
‘केन्द्रीय समितिसँग समन्वय गरिरहेका छौँ। हामी तयारी अवस्थामा छौं,’ उनले भने। अहिले टर्कीका धेरै सहर अस्तव्यस्त छन्। ‘यहाँ अहिले सबै कुरा अस्तव्यस्त छ। गाडीहरु चल्न गाह्रो छ। सरकारले पनि जहाँ हो त्यहीँ सुरक्षित रहन आग्रह गरेको छ। हामीले पनि नेपालीलाई त्यही भनेका छौँ,’ पौडेलको भनाइ छ। सोमबार गएको भूकम्पमा परी अहिलेसम्म ५ हजारभन्दा बढीले ज्यान गुमाइसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। |
यति नेपाली एशोसिशन यूकेको अध्यक्षमा पिपला देवान निर्विरोध लण्डन। भारतमा बाहेक अन्य देशमा रहेकानेपाली सामाजिक संस्था मध्येको सबै भन्दा जेठो संस्थाका रूपमापरिचित यति नेपाली एशोशियसन युकेको २९ औं अधिवेशन सम्पन्न भएको छ।
लण्डनको ह्यारो फुटबल क्लबमा आईतबार सम्पन्न अधिवेशनबाट समाजसेवी पिपला पाण्डे देवानको नेतृत्वमा १७ सदस्य कार्य समिति निर्विरोध भएको छ।
कार्य समितिकाे महासचिवमा टंक भट्टराई , वरिष्ठ उपाध्यक्षमा सूर्यकुमार नेम्वाङ, उपाध्यक्षमा हिमाकुमारी गुरुङ, उपमहासचिवमा आशिष पन्त र कोषाध्यक्षमा पुण्य रेग्मी, त्यस्तै, सामाजिक सचिवमा रमेश अर्याल, खेलकुद सचिवमा राज पाण्डे, साँस्कृतिक सचिवमा दीपक मैथाने मगर र प्रकाशन सचिवमा आशिष महर्जन छन् भने सदस्यहरुमा अशोक ढकाल, सागर शर्मा, भिमतामाङ, जेनिश गिरी, सुष्मा पौडेल, मीनाकुमारी प्रधान र मनिकला राई गुरुङ सर्वसम्मत बनेका छन्।
नवनिर्वाचित अघ्यक्ष देवानले संस्थाले बिदेशमा रहेका नेपालीहरूलाई आपत विपद पर्दा सहयोग गर्ने उदेश्यले “आपतकालीन कोष“ स्थापना गर्ने प्रस्ताव गरेसँगै आइतबार हलबाट पाँच हजार पाउण्ड जम्मा भएको बताए।
कार्यक्रममा ओबिई डा.राधव धिताल, ग्रीनवीच बरोका काउन्सिलर जीत रानाभाट लगायतले मन्तव्य राख्नु भएको नवनिर्वाचितमहासचिव टंक भट्टराईले जानकारी दिए।
संस्थाका पूर्व अध्यक्ष उमेशराज मोक्तानको संयोजकत्वमा सहित ६ सदस्य निर्वाचन समितिले निर्वाचन बिना सहमतिमा पदाधिकारीको टुंगो लगाएको थियो। |
कतारमा बस्ने नेपालीले ८२ करोड रूपैयाँको चिठ्ठा जिते अबुधाबी । कतारमा रहेका एक नेपाली प्रवासीले शुक्रबार बिग टिकट अबुधाबीको ड्र बाट २ करोड ३० लाख दिरामको चिठ्ठा जितेका छन् । यो रकम नेपाली रूपैयाँमा ८२ करोड रुपैयाँ हुन्छ ।
गल्फ न्युजका अनुसार रणजित कुमार पालले जनवरी १६ मा २३२९३६ नम्बरको टिकट किनेका थिए जुन टिकटले यति ठूलो पुरस्कार जितेको हो । अबु धाबीमा रहेको बिग टिकट ड्रले आफ्नो वर्षको पहिलो प्रवर्द्धनमा २ करोड ३० लाख दिराम पुरस्कारको घोषणा गरेको थियो।
ठूला टिकटका ग्राहकहरू पनि साप्ताहिक इलेक्ट्रोनिक ड्रमा स्वतः सहभागी हुनेछन् र हरेक हप्ता १ किलो २४ क्यारेट सुन लिएर जाने मौका पाउनेछन्।
महान् पुरस्कारका अतिरिक्त दोस्रो पुरस्कार दश लाख दिराम, साथै तेस्रो पुरस्कार १ लाख र चौथो पुरस्कार ५० हजार दिरामको घोषणा गरिएको छ ।
शुक्रबारको ड्र र घोषणाहरू साँझ साढे ७ बजे अबु धाबी अन्तर्राष्ट्रिय एयरपोर्टको अराइभल्स हलको छेउमा नि: शुल्क आउटडोर कार्यक्रममा आयोजित गरियो। |
नेपाली कला-संस्कृति प्रवर्द्धनको लागि डेल्फिक नेपाल र इनासले जर्मनीमा कार्यक्रम गर्ने काठमाडौं। नेपाली कला-संस्कृतिको उत्थान र प्रवर्द्धनका लागि विश्वव्यापी रुपमा कार्यरत दुई संस्था नेशनल डेल्फिक काउन्सिल नेपाल र अन्तराष्ट्रिय नेपाली कलाकार समाज(इनास)को सहकार्यमा जर्मनीको बर्लिनमा बिशेष कार्यक्रम हुने भएको छ । कार्यक्रमको बिषयमा डेल्फिक नेपालका अध्यक्षले लण्डनमा यूरोपमा रहेका नेपाली कलाकर्मीहरुसँग छलफल गरेका छन् ।
छलफलमा डेल्फिक नेपालका सचिव सुर्य बहादुर राष्कोटी, इनास ग्लोबलका उपाध्यक्ष मनिष श्रेष्ठ, इनास युकेका अध्यक्ष बिनोद चिपालु, लेखकरनिर्देशक सनम कुमार बैराग, बिकास देवकोटा, कानुन व्यावसायी टम अधिकारी, सिम्मी पुन लगायतको सहभागिता रहेको थियो । नेदरल्याण्ड रहेका इनास ग्लोबलका अध्यक्ष पुष्प बरुवाल र नेपालमा रहेका डेल्फिक नेपालका उपाध्यक्ष जीवन पराजुलीले छलफलमा भर्चुअल सहभागिता जनाए ।
‘नेपाल बाहिर रहेर पनि नेपाली कला-संस्कृति को उत्थान र प्रवर्द्धनका लागि अहोरात्र खटेर योगदान पुर्याउने बिशिस्ट श्रस्टा, कलाकर्मी, साहित्यकार लगायतको पहिचान गरी उनिहरुलाई उचित सम्मान दिनु हाम्रो कार्यक्रमको उद्देश्य रहनेछू,’ मे २०२३ मा हुने कार्यक्रमबारे डेल्फिक नेपालका अध्यक्ष बिएलले भने, ‘यो कार्यक्रमबाहेक उत्कृष्ट नेपाली चलचित्रहरुको छनोट गरी विश्वका विभिन्न राष्ट्रहरुमा नियमित रुपमा प्रचारप्रसार र प्रदर्शन गर्न एउटा छुट्टै कार्यसमिती बनाउने र नेपाली चलचित्रको बैकल्पिक बजार खोज्ने, नेपाली चलचित्रको प्रवर्द्धनका लागि विभिन्न महोत्सव आयोजना गर्नेबारे पनि हामीले छलफल गरेका छौँ ।’
इनास ग्लोबलका उपाध्यक्ष मनिष श्रेष्ठले लण्डनको प्लमस्टिडमा संचालन गर्दै आएको गोर्खा क्लबमा डेल्फिक नेपालका पदाधिकारीको स्वागतमा रात्रीभोजको आयोजना गरिएको थियो । |
विप्रेषण पठाउने वैधानिक च्यानल बनाइदिन आग्रह काठमाडौं। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) मकाउले नेपालमा पैसा पठाउन वैधानिक च्यानलको व्यवस्था गरिदिन सरकारसँग माग गरेको छ।
मङ्गलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पाँचबुँदे ध्यानाकर्षण पत्र दिँदै एनआरएनए मकाउले सरकारकै पहलमा विप्रेषण (रेमिट्यान्स) कम्पनी खोलिदिन आग्रह गरेको हो।
पैसा पठाउने वैधानिक विप्रेषण कम्पनी नहुँदा मकाउमा रहेका नेपाली हुण्डीको प्रयोग गर्न बाध्य भएको एनआरएनए मकाउको गुनासो छ। एनआरएनए मकाउले हङकङको ट्रान्जिट भिसाको समस्या हल गर्न पनि सरकारसँग माग गरेको छ।
नेपालदेखि मकाउसम्म सिधा हवाई सेवा नरहेको र हङकङमा ट्रान्जिट राहदानी लिनुपर्ने अवस्था रहेको कारण नेपाली कामदार समस्यामा परेको एनआरएनए मकाउको गुनासो छ।
एनआरएनए मकाउले नेपालदेखि मकाउसम्मको सिधा हवाई सम्पर्कको व्यवस्था गर्न माग गरेको छ। त्यस्तो भएमा नेपालदेखि मकाउमा जान र मकाउमा पर्यटक नेपाल आउन पनि सहज हुने विश्वास गरिएको छ। |
रवि लामिछानेको मुद्दाले एनआरएनलाई कुनै असर गर्दैनः उपाध्यक्ष शर्मा लण्डन् । गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. हेम राज शर्माले गृहमन्त्री रवि लामिछाने बिरुद्ध सर्वोच्च अदालतले शुक्रबार दिएको फैसलाले एनआरएनहरुलाई कुनै असर नपर्ने बताएका छन्।
डा. शर्माले फैसलाले ‘गैरआवासीय नेपालीको एक पटकको नेपाली सधैंको नेपाली’ अभियानलाई पूर्ण विराम लगायो, नेपालको सम्पत्ति असुरक्षित हुने भयो, एनआरएनको लागि कालो दिन’ आदि सामाजिक सञ्जालमा आएका प्रतिक्रियामा सत्यता नरहेको बताए।
संघका पूर्व महासचिव समेत रहेका डा. शर्माले भने,’कसैलाई राजनीति गर्न मन लाग्यो विदेशी नागरिकता त्याग्ने बित्तिकै नेपालको नागरिकता पुनः प्राप्ति गर्नसक्छ। पहिलेको प्रस्तावित कानूनमा नेपाल फर्केर ५ वर्ष बसेपछि मात्र राजनितिक अधिकार प्राप्त गर्ने थियो तर अहिलेको कानून यति धेरै उदार बनाइएको छ कि नेपाल फर्केको भोलिपल्ट देखि नै राजनीतिमा प्रवेश गर्न पाएछन्। यो उदार व्यवस्थालाई सही किसिमले सदुपयोग गर्न सक्नु पर्छ।’
प्रश्न नागरिकता पुनः प्राप्ती गर्न सम्बन्धित निकायमा निवेदन दिनुपर्छ वा पहिलेको नागरिकता स्वतः ब्युँतिन्छ भन्ने थियो तर अदालतले निवेदन दिनुपर्छ भन्ने फैसला गरे पछि पुनः नागरिकता लिने बाटो प्रष्ट पारेको उनले बताए।
डा शर्माले फैसलाले विदेशको नागरिकता लुकाएर नेपाली नागरिकताले नेपालमा घर जग्गा किन्ने लगायतका कारोबार गर्नु गैरकानूनी हुँदोरहेछ भनेर गैरआवासीय नेपालीहरुलाई थप सचेत बनाएको बताए।
उनले गैरआवासीय नेपालीहरुको सम्पतीको अधिकार प्रस्तावित गैरआवासीय नेपाली सम्बन्धि ऐनमा विशेष व्यवस्था हुने बताए।
डा. शर्माले संविधानमा प्रस्तावित गैरआवासीय नेपाली नागरिकता सम्बन्धी व्यवस्थाले नेपालको पैतृक सम्पत्ती, अंशबण्डा, अपुताली लगायतका सम्पत्तिको अधिकार शुनिस्चितता गरेको बताए।
डा. शर्माले बाहिर बस्ने नेपालीको नागरिकतालाई सम्बोधन गर्न संविधानको धारा १४ मा राजनितिक अधिकार बाहेक आर्थिक, सामाजिक, र सांस्कृतिक अधिकार सहितको गैरआवासीय नेपाली नागरिकताको व्यवस्था गरेको बताए।
उनले रवि लामिछानेको विपक्षमा आएको फैसला पछि पनि संविधानका भएका यी विषयहरु यथावत नै रहने बताए। |
परराष्ट्र मन्त्री डा. पौडेलसँग प्रवासी नेपाली मञ्चकाे अन्तरक्रिया काठमाडाैं। प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको सचिवालयले परराष्ट्र मन्त्री डा. विमला पौडेलसँग विभिन्न विषयमा छलफल गरेको छ। मंगलबार मञ्चले जुममार्फत परराष्ट्र मन्त्री पौडेलसँग विभिन्न समस्याको बारेमा छलफल गरेको हो।
छलफलमा माल्टाबाट युके आउन भिसामा देखिएको समस्या समाधान गर्न माल्टलाई स्पेनवाटको दूतावासवाट हेर्ने प्रवन्ध मिलाउने,पोर्चुगलका नेपालीलाई पासपोर्टमा देखिएको समस्या छिटो व्यवस्थापन गर्न माग गरिएकाे थियाे।
यसैगरी बेलायतमा रहेका गोर्खाहरूको समस्या समाधान गरिनुपर्ने, अमेरिकाको टेक्सासमा राजदूतावासका कर्मचारीको लापरबाहीको कारण झन्डै २ लाख भन्दा वडी मनिअडर/चेक लुटिएको र सेवाग्राहीले सेवा नपाएकोमा तुरून्त सेवाग्राहीले सेवा पाउनु पर्ने र टेक्सास र क्यालिफोर्नियामा कन्सुलेट अफिस राखिनु पर्ने ,प्रवासवाट नेपाली नागरिकले मतदान गर्न पाउनु पर्ने, सन्सारका सबै नेपाली दूतावासहरूमा प्रवेश गर्दा आफ्नै घरमा रहेको महसुस प्रवासी नेपालीहरूले महसूस गर्न पाउने वातावरण निर्माण गरि सेवा सुविधा छिटो गराउनु पर्ने लगायतका विषयहरूमा छलफल भएकाे थियाे।
प्रवासमा नेपालीले भाेग्नु परेका समस्याहरूको छिटो समाधान गर्न मञ्चले आग्रह गरेको छ।
कार्यक्रममा परराष्ट्र मन्त्री पौडेलले नीतिगत निर्णय गराउन बाहेक अन्य कुराको यथासक्दो छिटो सम्बोधन गर्ने प्रतिबद्धता जनाइन्। उक्त बैठकमा प्रवासी नेपाली मन्च अन्तर्राष्ट्रीय कमिटीको अध्यक्ष सन्जय थापा, सल्लाहकार परिषद अध्यक्ष भक्त गुरूड,सचिव हेम शेर्पा, उपसचिव चानक पोख्रेल र सचिवालय सदस्यहरू प्रभुराम थापा,भक्त गुरूङ, भक्त वाग्ले र कमलमणि गुरागाहीको सहभागिता रहेको थियो। |
एनआरएनए आईसीसी सदस्य एनबी क्षेत्री मलेसियाका लागि टुरिजम गुडविल एम्बेसडर नियुक्त काठमाडौं । लामो समयदेखी गैर आवासीय नेपाली संघ एनआरएनएसँग आबद्ध रहदै नेपालको पर्यटन क्षेत्रको बारेमा देश तथा बिदेशमा सकारात्मक सन्देश प्रबाह गर्ने सामाजिक एवं एनआरएनए अभियन्ता नन्द बहादुर क्षेत्री ‘नेत्र’ मलेसियाका लागि टुरिजम गुडविल एम्बेसडरमा नियुक्त भएका छन् ।
नेपालको पर्यटन क्षेत्र र बिधामा सक्रिय रहँदै आएका क्षेत्रीले पर्यटन बिधामा खेलेको अहम भूमिका र निरन्तरताको फलस्वरूप नेपाल सरकारले चार बर्षका लागि मलेसियाको लागि टुरिजम गुडविल एम्बेसडरका रूपमा नियुक्त गरेको छ । क्षेत्रीलाई नेपाल सरकार मन्त्रीस्तरिय निर्णय अनुसार सरकारले यो निर्णय गरेको हो । क्षेत्रीलाई पर्यटन मन्त्रालयले नियुक्ति पत्र मलेसिया नै पठाएको छ ।
नियुक्ति पत्र बितरणपछी पर्यटन सचिब सुरेश अधिकारीले लामो समयदेखी पर्यटन क्षेत्रमा लागि पर्दै आएका क्षेत्री लगाएतलाई नेपाल सरकारले टुरिजम गुडविल एम्बेसडरका रूपमा नियुक्त गरेको बताए । सचिब सुरेश अधिकारीले यो क्षेत्र झनै बिस्तार र बलियो हुने बिश्वाष ब्यक्त गरेर नै मलेसियाको लागि टुरिजम गुडविल एम्बेसडरका रूपमा क्षेत्रीलाई नियुक्त गरेको बताएका छन् ।
नियुक्ती पत्र प्राप्त गरेपछी क्षेत्रीले राज्यले आफू माथि बिस्वास गरेर दिएको जिम्मेवारीलाई मूलुकको हित र प्रबासी नेपालीहरूको साथ लिंदै सजकताका साथ निभाउने प्रतिबद्धता ब्यक्त गरे । उनले नेपाल सरकारलाई आफुलाई उक्त जिम्मेवारी दिएकोमा धन्यवाद ब्यक्त गर्दै आफुले बर्षौदेखी मलेसियामा रहेर पर्यटन क्षेत्रमा सँगालेको अनुभवलाई प्रयोग गर्ने बताए ।
सन २००५ देखी देखी हालसम्म मलेसियामा रहेका क्षेत्री ट्राभल्स,टुर्स लगाएतका ब्यावसायमा आवद्द रहेका छन् । हाल क्षेत्रीले मलेसियामा एनएचएस भ्याकेसन ट्राभल्स एन्ड टुर्स एसडिएन बिएचडि,नाफ्टर प्रेस्टो क्याफे, नाफ्टर ग्लोवल रिसोर्सेज एसडिएन बिएचडिलगाएत ब्यावसाय संचालन गरिरहेका छन । एनआरएनए पर्यटन प्रबद्दन कमिटीको सदस्य समेत रहेका क्षेत्री टुरिजम क्षेत्रमा बिशेष दखल राख्ने र यो बिधामा पोख्त प्रबासी नेपालीको पहिचान बनाएका ब्यक्तिका रुपमा मलेसियामा चिनिन्छन् ।
महाभूकम्प र कोभिडका कारण सुस्ताएको नेपालको पर्यटन क्षेत्रलाई लयमा ल्याउन बिश्वमा धेरै पर्यटक आउने देश मलेसिया लगायतका मूलुकमा एनआरएनएको साथमा क्षेत्रीले गरेका कामको यतिबेला नेपाल सरकार र सम्बन्धित निकायले खुलेर प्रंशसा गर्ने गरेका छन् । बिदेशमा रहेर पनि बिभिन्न क्याम्पेन गरेर नेपालको टुरिजम क्षेत्रलाई प्रचार प्रसार गर्ने मामिलामा अहोरात्र खटिएका क्षेत्रीलाई यसपटक नेपाल सरकार र पर्यटन मन्त्रालयले उचित सम्मान दिएको छ ।
क्षेत्रीले नेपालको टुरिजम क्षेत्रलाई दिएको योगदानको कदर गर्दै नेपाल सरकारले मन्त्रीस्तरीय निर्णय गर्दै उनलाई मलेसियाका लागि टुरिजम गुडविल एम्बेसडर नियुक्त गरेको जनाइएको छ । क्षेत्रीले आफुले छिट्टै मलेसियाली नागरिकलाई नेपाल भर्मणमा पठाउँनको लागी बिभिन्न कार्यक्रम शुरु गर्ने बताए । आफ्नो अभियानमा साथ दिन क्षेत्रीले मलेसियामा रहेको नेपाली दुतावास,एनआरएनए मलेसिया,समस्त नेपाली संघ सँस्था र नेपालीलाई अनुरोध समेट गरेका छन् । |
नेपालकै पहिलो ब्रम्हकुमारी सिस्टर प्रनिता गुरुङको मेलबर्नमा कार्यक्रम मेलबर्न। नेपालकै पहिलो ब्रम्हकुमारी एवं पश्चिम नेपालको ब्रम्हकुमारीका निर्देशक सिस्टर प्रनिता गुरुङले मेलबर्नको ब्रन्सविक टाउन हलमा आयोजित कार्यक्रममा प्रवचन दिएकी छन्।
कार्यक्रममा प्रवचन दिने क्रममा कसैबाट केही अपेक्षा नगरी समभावका दृष्टिकोणका साथ निःस्वार्थ रुपमा निरन्तर सेवा भाव प्रदर्शन गरी सबैलाई आफ्नो सेवा प्रदान गर्न सकिंदा यसले स्वतस्फूर्त रुपमा देवत्वकरण गराउने उनले बताइन्।
सूर्य, चन्द्रमा, आगो, पानी, हावा आदिलाई आफ्नो भनाइको उदाहरणको रुपमा पेश गर्दै यी सबैले आ९आफ्नो धर्म अनुरुप सबैलाई समान रुपमा निरन्तर सेवा प्रदान गर्नुकै परिणाम यी सबैलाई हामीले देवताको रुपमा पुज्ने गरेको बताइन्।
परिवार र समाजमा हरेक कुरामा एकार्कामा ब्यापार भाव प्रदर्शन गरिनाले भौतिक सम्पन्नताका बाबजुद सुखमय जीवन यापनबाट सबै बन्चित हुन परेको बताउँदै सिस्टर गुरुङले सुख प्राप्तीका लागि प्रेमभाव र आत्माउन्मुख अनिवार्य शर्त भएको बताइन्।
वुद्धभूमि र तपोभूमि नेपाल छाडेर आएर पनि मेलबर्नमा आयोजित कार्यक्रमको वातावरणका कारण नेपालमा नै रहेको अनुभूति ब्यक्त गरेकी सिस्टर गुरुङले उपस्थित सबैलाई केही समय ध्यान गराएकी थिइन्।
वरिष्ठ राजयोग शिक्षक एबं ब्रम्हकुमारी नेपालका महासचिव शैलेश राज बरालले प्रवचन दिने क्रममा सुख गन्तब्य नभएर दैनिक जीवनचर्याको अभिन्न अंग बनाइनुपर्ने र विश्वका करीब ८ अर्ब मानिसमा हरेक ब्यक्ति बाँकी सबैसँग बिल्कुलै फरक हुने भएका कारण प्रत्येक ब्यक्ति बिशेष उद्धेश्यका लागि परमात्माद्धारा पठाइएकोले त्यो उद्धेश्य प्राप्ती जीवनको उद्धेश्य बनाइनाले सुखमय जीवन संभव हुन सक्ने बताए।
सिस्टर प्रनिता गुरुङ र वरिष्ठ राजयोग शिक्षक शैलेश राज बरालसँगको कार्यक्रम अस्ट्रेलियाका बिभिन्न शहरमा आयोजना गरिने योजना छ। |
आजदेखि पाँच प्रदेशबाट श्रम स्वीकृति, सुर्खेत र धनगढीबाट छिट्टै सुरू गरिने काठमाडौं। आज आइतबारदेखि जनकपुर र बिराटनगरबाट श्रम स्वीकृति लिन सकिने भएको छ।
सरकारले पुस ११ गते गरेको निणर्य कार्यान्वयन गर्ने क्रममा आजदेखि उपरोक्त स्थानबाटै श्रम स्वीकृत लिन सकिने छ। यसअघि काठमाडौं र उपत्यकाबाहिर पोखरा र भैरहवाबाट मात्रै यस्तो सेवा लिन सकिने व्यवस्था थियो।
प्रचण्ड नेतृत्व सरकारको मन्त्रिपरिषदको पहिलो बैठकले नागरिकहरूलाई प्रदान गर्दै आएका आधारभूत सेवा दिने निकायहरूको सेवा प्रवाहलाई सुगम, सरल र कम खर्चिलो झण्झटमुक्त बनाउने, यसमा देखिने गरी सुधारका कामहरू तत्काल आरम्भ गर्ने र कार्यान्वयन गर्ने निणर्य गरेको थियो।
सोही निणर्य कार्यान्वयन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले मातहतका मन्त्रालयहरूलाई कार्ययोजना निर्माण गरी कार्यान्वयनमा जान निर्देशन दिएबमोजिम आजबाट थप दुई स्थानबाट श्रम स्वीकृति लिने व्यवस्था सुरु हुनेछ। सुर्खेत र धनगढीबाट भने छिट्टै प्राविधिक तथा भौतिक तयारीपछि यो सेवा सुरु हुनेछ।
त्यसका लागि सरकारको तर्फबाट आवश्यक गृहकार्य भइरहेको छ। यसअघि प्रदेशहरूबाटै श्रम स्वीकृत लिन नसकिने अवस्थाका कारण नागरिकले सास्ती पाउँदै आएका थिए।
वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित तुल्याउने प्रधानमन्त्रीको सोचअनुसार श्रम स्वीकृतिका लागि कार्यालय बिस्तार गरिएको हो। प्रधानमन्त्री प्रचण्डले सचिवहरूसँगको छलफलका क्रममा समेत नागरिकले राज्यबाट सेवा प्राप्त गर्न लामो लाइन र अन्य झन्झट व्यहोर्नुपर्ने अवस्था अन्त्य गर्न निर्देशन दिएका थिए।
प्रधानमन्त्रीले आफ्नो निर्देशनलाई बढीमा एक महिनाभित्र परिणाम देखिने गरी कार्यान्वयन गर्न भनेपछि मन्त्रालयहरूले निर्देशनको कार्यान्वयनका लागि कार्ययोजना बनाएर काम गर्न थालेका छन्। |
आइतबारदेखि जनकपुर र विराटनगरबाट श्रम स्वीकृति लिन सकिने काठमाडौं । आइतबारदेखि जनकपुर र विराटनगरबाट पनि श्रम स्वीकृति लिन सकिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद्ले यही पुुस ११ मा गरेको निर्णय कार्यान्वयन गर्ने क्रममा भोलि आइतबारदेखि दुवै स्थानबाट श्रम स्वीकृत लिन सकिने व्यवस्था गरिएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरण शर्माले जानकारी दिए ।
यसअघि काठमाडौँ र उपत्यकाबाहिर पोखरा र भैरहवाबाट मात्रै यस्तो सेवा लिन सकिने व्यवस्था थियो । वर्तमान सरकारको मन्त्रिपरिषद्को पहिलो बैठकले नागरिकलाई प्रदान गर्दै आएका आधारभूत सेवा दिने निकायको सेवा प्रवाहलाई सुगम, सरल र कम खर्चिलो झण्झटमुक्त बनाउने निर्णय गरेको थियो । साथै देखिने गरी सुधारका काम तत्काल आरम्भ गरी कार्यान्वयन गर्ने निर्णय गरेको थियो । सोही निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मातहतका मन्त्रालयलाई कार्ययोजना निर्माण गरी कार्यान्वयनमा जान निर्देशन दिएको थियो ।
सुर्खेत र धनगढीबाट पनि प्राविधिक तथा भौतिक तयारीपछि छिट्टै यो सेवा सुरु हुने प्रेस संयोजक शर्माले जानकारी दिए । त्यसका लागि सरकारका तर्फबाट आवश्यक गृहकार्य भइरहेको उनको भनाइ छ ।
यसअघि प्रदेशबाटै श्रम स्वीकृत लिन नमिल्ने अवस्थाका कारण नागरिकहरु काठमाडौँ आउनुपर्ने बाध्यता थियो । वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित तुल्याउने प्रधानमन्त्रीको योजनाअनुसार श्रम स्वीकृतिका लागि कार्यालय विस्तार गरिएको हो ।
प्रधानमन्त्री प्रचण्डले सचिवहरूसँगको छलफलका क्रममा नागरिकले राज्यबाट सेवा प्राप्त गर्न लामो लाइन र अन्य झन्झट व्यहोर्नुपर्ने अवस्था अन्त्य गर्न निर्देशन दिएका थिए । |
टेक्सास लुट काण्ड : छानविन समिति गठन, सेवाग्राहीको काम रोकियो वासिंगटन डिसी । अमेरिकाको टेक्सास राज्यमा लुटिएको भनिएको नेपाली दूतावासको २ लाखभन्दा बढी अमेरिकी डलर रकमसम्बन्धी प्रकरणमा अमेरिकाका लागि नेपाली राजदूत प्राध्यापक श्रीधर खत्रीले छानविन समिति गठन गरेका छन् ।
दूतावासका चार्ज डि एफियर सहसचिव कुमार खरेलको संयोजकत्वमा दूतावासमा कार्यरत सैनिक अधिकृतसहितको छानविन समिति गठन भएको छ । समितिले बयानका लागि सम्बन्धित कर्मचारीहरुलाई प्रश्नहरु लिखितरुपमै सोधिसकेको छ ।
समाचारअनुसार, यो समितिले कति दिनसम्ममा प्रतिबेदन दिने भन्ने कुरा भने यकिन भएको छैन । दूतावासका प्रबक्ता एवं समितिका संयोजक कुमार खरेल आन्तरिक समिति भएकाले सदस्यहरुको नाम सार्वजानिक गर्नु उपयुक्त नहुने डिसी नेपाललाई बताए ।
टेक्सासका तीनवटा शहरहरुमा नेपाली दूतावासले कन्सुलर सेवा दिनका लागि डिसेम्बर १५ देखि २० तारिकसम्म सेवा शिविरहरु आयोजना गरेको थियो । यी शिविरहरुमा पासपोर्ट नवीकरण, एनआरएन कार्डलगायत दूतावासले दिने अन्य सेवाहरु उपलब्ध गराएको थियो ।
यसवापत ती शहरमा बस्ने सेवाग्राही नेपालहरुले तिरेको राज्यको राजश्व रकम दुई लाख अमेरिकी डलरभन्दा बढी उठेको थियो । सो रकम र आवश्यक कागजातसहित दूतावासका कर्मचारीको टोली ह्युष्टन एयरपोर्टबाट वासिंगटन डिसी फर्किने कार्यक्रम तय भएको थियो । एयरपोर्ट जानुभन्दा अघि खाना खान ह्युस्टनस्थित एक नेपाली रेष्टुरांमा पसेका बेला दूतावासका कर्मचारीले प्रयोग गरेको स्थानीय व्यापारी ज्ञानेश्वर श्रेष्ठको गाडी तोडफोड भई रकम लुटिएको थियो ।
मध्यान्ह १२ बजेर ३ मिनेटजतिको समयमा घटेको यो घटनापछि लामो समयसम्म दूतावासमा के गर्ने भन्ने अन्योल देखिएको थियो । तर, परराष्ट मन्त्रालयले आन्तरिक छानविन गर्न निर्देशन पठाएपछि राजदूत खत्रीले छानविन समिति नै गठन गरेका छन् । टेक्सासमा सेवा शिविरहरु संचालनका लागि दूतावासका कर्मचारीहरु उत्तम घिमिरे, राधारमण दुवे र टेक्सासमा एक स्थानीय स्टाफ खटिएका थिए । यी सबै छानविनको दायरामा परेका छन् ।
समाचारअनुसार, ह्युस्टन प्रहरीले यो घटनाबारे प्रारम्भिक प्रतिवदेन पनि दूतावासलाई दिएको छ । प्रहरीको अनुसन्धान रिपोर्टमा के छ भन्नेबारे स्पष्ट नभए पनि अमेरिकी प्रहरीको प्रारम्भिक छानविन पूरा नहुन्जेल सो प्रकरणमा संलग्न दूतावासका कर्मचारीहरुलाई ह्युस्टनमै बस्न भनिएको थियो ।
प्रहरीले प्रारमिभक प्रतिवेदन दिएपछि दूतावासका कर्मचारीहरु वासिंगटन डिसी फर्किएका छन् । त्यत्रो ठूलो धनराशी बोकेर हिडेका कर्मचारीले सामान्य सतर्कता नअपनाउंदा दूतावासले ठूलो मूल्य चुकाउनु परेको छ । यो लापरवाहीमा संलग्न कर्मचारीहरुमाथि कस्तो कारवाही हुने हो छानविनपछि थाहा होला तर राज्यको राजश्वको झण्डै पौने ३ करोड रकम डुबेको छ भने सो रकम तिर्ने सेवाग्राहीको काम ठप्प भएको छ ।
टेक्सासमा जजस्ले रकम तिरेर दूतावासको सेवा लिएका थिए उनीहरुले त्यसवापतको सेवा पाएका छैनन् । उनीहरुको पासपोर्ट नवीकरण वा एनआरएन कार्ड प्राप्ति वा नवीकरणको कुनै पनि काम शुरु भएकै छैन । कतिपय सेवाग्राहीहरु विद्यार्थी भएको, कतिपय अवैधानिकरुपमा अमेरिकामा बसोवास गरिरहेका र कतिपयको अध्यागमन अदालतमा मुद्धा चलिरहेकोले उनीहरुले बैंकिंङ्ग च्यानल प्रयोग नगरी नगद रकम तिरेर मनी अर्डर बनाएका छन् । ती मनी अर्डरहरुको रकम फिर्ता पाउने सम्भावन ज्यादै कम हुन्छ ।
यस्तो अवस्थामा राज्यका कर्मचारीले जिम्मा लिइसकेको रकम फेरि सेवाग्राहीलाई तिराउने काम भयो भने त्यसले झन् ठूलो समस्या ल्याउने निश्चित छ । अमेरिकावासी नेपालीहरुमा दूतावासको कामप्रति असन्तुष्टि पनि यो प्रकरणपछि चुलिएको छ ।
यो प्रकरणमा राजश्वको रकम जम्मा नभई काम हुने कुरा भएन र रकम जम्मा हुनुपूर्व नै लुटिएको अवस्था छ । कर्मचारीहरुबाट असुल उपर गर्न पनि सजिलो छैन किनकि रकम सानो छैन ।
प्रबक्ता खरेलका अनुसार, यो प्रकरणसम्बन्धी छानविनको काम धमाधम भइरहेको छ । उनले डिसी नेपालसंग भने, ‘सेवाग्राहीको काम अघि बढाउनेतर्फ पनि प्रक्रिया अघि बढेको छ । माथिल्लो निकायको निर्देशन पर्खेका छौं ।’ |
कम्पनीले मलेसियामा २७ नेपाली कामदारलाई बन्धक बनायो, उद्धारका लागि आग्रह काठमाडौं । वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका २७ जना नेपाली कामदार चार महिनादेखि अलपत्र परेका छन् । सानेपाको फोजी म्यानपावरबाट एक सप्लायर्स कम्पनीमा काम गर्न भनेर गत ८ सेप्टम्बर (२३ भदौ)मा मलेसिया पुगेका उनीहरु अलपत्र परेका हुन् । म्यानपावरलाई तीनदेखि साढे तीन लाख रुपैयाँ बुझाएर मलेसिया पुगेको पीडित बाबुराम बास्तोलाले बताए ।
हन्टेयर्स चिकेन डोल्स भन्ने सप्लायर्समा काम गर्नेगरी लाख रुपैयाँ कमाउने प्रलोभन देखाएर आफूहरुसँग पैसा असुले पनि अहिले शारीरिक र मानसिक यातना दिँदा पनि म्यानपावर र एजेन्टले कुनै सहयोग नगरेको पीडितहरुको सामूहिक खिचिएको भिडियोमा भनिएको छ ।
‘आएको एक हप्तादेखि नै कम्पनी मालिकले गालीगलौजसहित कुटपिट गरेको,’ बाबुराम बास्तोलाले भने, ‘सुरुमा पारिवारिक कारणले सहँदै र गएको र एजेन्टलाई जानकारी गराउँदै गयौँ । तर, शारीरिक र मानिस यातना दिने काम रोकिएको छैन ।’
एजेन्टले आफूलाई सहयोग नगरेको र बाटोमै कम्पनी मालिकले आफूहरुमाथि कुटपिट गरेको भिडियोमा बास्तोलाले बताएका छन् । उनीहरुलाई खान बस्न र सुत्ने स्थानको समेत प्रवन्ध नभएको भिडियोमाब देखाएका छन् । आफूहरुलाई उद्धार गरेर सहयोग गर्न उनीहरुले आग्रह गरेका छन् ।
कम्पनीबाट बाहिर निकाली दिएको उनीहरुले गुनासो गररेका छन् । ‘कम्पनीको गेटबाट बाहिर निकालिदिएको छ । चाइनिज एजेन्टले गाडीमा हालेर अन्कन्टार ठाउँमा बन्द कोठामा थुनिदिएको छ । धुलैधुलो भुइँ भएको कोठामा थुनिदिएको छ,’ पीडित बाबुराम बास्तोलाले भने, ‘हामीलाई उद्धार गरिदिनुहोस् ।’ |
राजदूत अधिकारी र पाकिस्तानी प्रधानमन्त्रीका विदेशमामिलासम्बन्धी विशेष सहायकबीच भेटवार्ता काठमाडौं । पाकिस्तानका लागि नेपालका राजदूत तापस अधिकारीले पाकिस्तानका प्रधानमन्त्री सेहबाज सरिफका विदेशमामिलासम्बन्धी विशेष सहायक सैयद तारिक फातेमीसँग आज इस्लामाबादस्थित उनको कार्यकक्षमा भेटवार्ता गरेका छन् ।
त्यस अवसरमा उनीहरूबीच नेपाल–पाकिस्तान सम्बन्ध र यसका ऐतिहासिक घटनाक्रमबारे छलफल भएको थियो । भेटमा उनीहरूबीच दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का साथै दक्षिण एसियामा क्षेत्रीय सहयोग प्रवर्द्धनबारे छलफल भएको इस्लामाबादस्थित नेपाली राजदूतावासले बताएको छ । |
एनआरएनए १५औँ यूरोप क्षेत्रीय सम्मेलन मे ६ र ७ मा लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १५औँ युरोप क्षेत्रीय सम्मेलन मेको पहिलो साता हुने भएको छ ।
गैरआवासीय नेपाली संघको यूरोप क्षेत्रीय पदाधिकारीहरूको उपस्थितीमा गत सोमबार बसेको बैठकले ६ र ७ मेमा चेक रिपब्लिकामा सम्मेलन गर्ने निर्णय गरेको एनआरएनए चेक रिपब्लिकले जनाएको हो ।
२४ भन्दा बढी देशका प्रतिनिधि सहभागी हुने सम्मेलनमा गैरआवासीय नेपाली संघका नियमित मुद्दाका अतिरिक्त युरोप क्षेत्रमा नेपालीहरूले भोगेका समस्या र समाधानको बारेमा छलफल हुने बताएको छ ।
|
पशुपतिनाथ फाउण्डेशन यूएसएको अध्यक्षमा रामेश्वर भण्डारी लस एन्जलस । लस एन्जेलस अबस्थित श्री पशुपतिनाथ फाउण्डेशन यूएसए को डिसेम्बर १८ गते सम्पन्न वार्षिक साधारण सभाले रामेश्वर भण्डारीको अध्यक्षतामा २१ सदस्यीय नयाँ सञ्चालक समिति चयन गरेको छ ।
नयाँ बिधान अनुसार अर्को दुई बर्षमा स्वत अध्यक्ष हुनेगरी प्रेसिडेन्ट एलेक्टमा विमल श्रेष्ठ र निवर्तमान अध्यक्ष मुकुन्द ढुंगाना इमिडिएट पास्ट प्रेसिडेन्टको रुपमा कार्यसमितिमा रहनेछन् । अन्य पदाधिकारीमा रामबाबु पाण्डे (वरिष्ठ उपाध्यक्ष), चिरञ्जीवी गौतम (उपाध्यक्ष), डिल्ली (सिद्धार्थ) सिलवाल (सचिव), सुविन भट्टराई (सहसचिव), चक्रपाणि मिश्र (कोषाध्यक्ष) र लालमती (सोना) बस्नेत (सहकोषाध्यक्ष) मा नीर्बाचित भएका छन । १२ जना निर्देशकमा अर्जुन पौडेल, डन बी कार्कीक्षेत्री, एकप्रसाद पाण्डे, हेमबहादुर ठकुल्ला, हेमराज राई, इन्द्रराज पाण्डे, केदार पौडेल, लक्ष्मण घिमिरे, रामराजा पाण्डे, शमशेरबहादुर (सुवास) भण्डारी, तुलसी ग्यवली र उपेन्द्र सापकोटा रहेका छन् ।
संसोधित बिधान अनुसार भक्त थापा (अध्यक्ष), एकराज पाण्डे, विवेक श्रेष्ठ, विमला ढकाल, बृन्दा श्रेष्ठ गुरागाईं, गोकुल पौड्याल, कोशराज थपलिया, नेत्र मैनाली, राजेश पाण्डे, श्याम जोशी र सुशील चौगाई सम्मिलित ११ सदस्यीय कार्यसमिति गठन भएको छ। बोर्ड अफ ट्रस्टीले अभिभावक निकायको रूपमा काम गर्नेछ।
नवनिर्वाचित सञ्चालक समिति र बीओटी कार्यसमितिले पुस २१ गते मन्दिरमा एक समारोहबीच पद तथा गोपनियताको सपथ ग्रहण गरेका थिए ।नयाँ बीओटी पदाधिकारीहरुलाई ट्रष्टी बोर्डका निवर्तमान अध्यक्ष तथा समुदायका वरिश्ठ समाजसेवी वेदभक्त जोशीले पद तथा गोपनियताको सपथ गराएका थिए । र नवनिर्वाचित बीओटी अध्यक्ष भक्त थापाले नयाँ सञ्चालक समितिलाई पद तथा गोपनियताको सपथ गराएका थिए ।
सपथ समारोहलाई सम्बोधन गर्दै नवनिर्वाचित अध्यक्ष भण्डारीले डलर-अ-डे कार्यक्रम, मन्दिरमै नेपाली पाठशाला सुसन्चालन र सामुदायिक केन्द्र निर्माणको कार्यक्रमलाई आफ्नो बोर्डको प्रमुख तीन प्राथमिकतामा राख्ने बताए । उनले आगामी दिनमा मन्दिर प्रशासनमा थप महिला सहभागिता सुनिश्चित गर्ने बताए । उनले लस एन्जलसका अन्य नेपाली संघसंस्थाहरुसँग मिलेर काम गर्ने बताए । परिमार्जित बिधान अनुसार अन्य नेपाली संघसंस्थाहरु पशुपतिनाथ तथा बुद्ध मन्दिरको आबद्ध सदस्य बन्न सक्नेछन् ।
सपथ समारोहपछि नेपालका अवैतनिक महावाणिज्यदूत ऋषि ढकालले नवनियुक्त पधाधिकारीहरुलाई बधाई दिँदै फाउन्डेसनलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । गैरआवासीय नेपाली संघ क्यालिफोर्निया च्याप्टरका अध्यक्ष एकदेव शर्मा, नेपाली महिला ग्लोबल नेटवर्ककी अध्यक्ष सपना थपलिया, नेपाल अमेरिका एकता समाजका अध्यक्ष नवीन पोखरेल, रक्तदाता संघका अध्यक्ष शारदा श्रेष्ठ, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष डन कार्कीलगायतको उपस्थिति रहेको थियो । |
नेपालबाट आएका आमाहरुको लागि नि:शुल्क ब्रेस्ट स्क्रिनिङ काठमाडौँ। दिदी-बहिनी समाज भिक्टोरियाले अस्ट्रेलियाको भिक्टोरिया राज्यभरीका विभिन्न शहरमा स्थापना गरेको आफ्ना शाखाहरु मार्फत नेपालबाट आएका ५० बर्षमाथिका आमाहरुको लागि “PREVENTION IS BETTER THAN CURE” नीतिलाई अख्तियार गर्दै नि:शुल्क रुपमा ब्रेस्ट स्क्रिनिङ कार्यक्रम सञ्चालन गर्दै आएको छ।
यसै क्रममा भिक्टोरियाको मेलबर्नपछिको ठूलो शहर जिलोङमा पनि अभिभावकको रुपमा नेपालबाट आएका आमाहरुको लागि दिदी-बहिनी समाज भिक्टोरिया जिलोङ शाखाले उक्त कार्यक्रम पहिलो पटक आयोजना गरेको हो।
दिदी-बहिनी समाज भिक्टोरिया जिलोङ शाखाको संयोजक रेनु लम्सालका अनुसार ११ जनाको लागि बुकिङ गरिएकोमा ३ जना आमाहरु नेपाल फर्किसकेकाले यो पटकको कार्यक्रममा ८ जना आमाहरु सहभागी भएका थिए।
कार्यक्रममा भिक्टोरियन बहुसांस्कृतिक आयोगका सल्लाहकार एबं ग्रेटर जिलोङ नेप्लिज कम्युनिटिका GGNEC Lead Strategist and Practice Lead ज्ञानेन्द्र उप्रेतीको पनि उपस्थिति थियो।
कार्यक्रममा सहभागी सबै आमाहरुले यसरी आफूहरुका लागि अस्ट्रेलिया जस्तो देशमा नि:शुल्क रुपमा यसरी यस्तो अवसर जुटाइदिएकोमा दिदी-बहिनी समाज भिक्टोरिया जिलोङ शाखाप्रति आभार प्रकट गरे। |
नेपाली नागरिक चैतनारायणलाई खोज्दै भारतीय प्रहरी नयाँ दिल्ली। भारतीय प्रहरीले नेपाली नागरिक चैतनारायणको खोजी तीब्र पारेको छ। भारतको चण्डीगढस्थित किसनगढ गाउँमा एउटा क्याटरिंगमा वेटरको काम गर्ने चैतनारायण गत साता मंगलबार रातिदेखि फरार छन्। उनलाई आफ्नै साथी अमरबहादुरलाई खाना पकाउने कुकरले हानेर मारेको अभियोग लागेको छ।
चैतनारायण र अमरबहादुर डिसेम्बर १३ को साँझ आफ्नै कोठमा मादक पदार्थ सेवन गरेर बसेका थिए। उनीहरु दुबैजना एउटै क्याटरिंग कम्पनीमा काम गर्दथे ।बनिराम शर्मा नामका साहूको कम्पनीमा कार्यरत यी दुबैको झगडा भइरहेका बेला मंगलबार साँझ साहू शर्मासमेत उनीहरुको कोठामा पुगेको चण्डीगढ प्रहरीले जनाएको छ।
तर, भोलिपल्ट पुग्दा अमरबहादुर रक्ताम्य भई कोठमा ढलेको र मृत भइसकेको अवस्थामा भेटिएका थिए। तै पनि उनलाई नजिकको जीएमएसएच–१६ अस्पताल पुर्याइएको र त्यहाँ डाक्टरले मृत घोषित गरेको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन्।
उनलाई प्रेसर कुकुरले धेरैपटक टाउकामा हानेर मारिएको प्रहरीले जनाएको छ। दुबैजनाको थर र तस्वीर भने प्रहरीले सार्वजानिक गरेको छैन। नेपालमा उनीहरुको स्थायी ठेगाना पनि खुलेको छैन तर प्रहरीले अमरबहादुर ४० बर्षका र चैतनारायण ५२ बर्षमा व्यक्ति भएको जनाएको छ।
चैतनारायण बुधबारदेखि नै फरार रहेकोले उनको खोजी तीब्ररुपमा भइरहेको पनि प्रहरीले जानकारी दिएको छ। |
अवैधरूपमा विदेशिएका नेपाली श्रमिकलाई कानूनले नचिने पनि राज्यले चिन्छः श्रममन्त्री कुँवर काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीका क्रममा गन्तव्य मुलुकमा समस्यामा परेका नेपाली श्रमिकको उद्धार तथा पुनःस्थापना राज्यको दायित्व भएको बताएका छन् ।
प्रवासी नेपाली समन्वय समितिले आजदेखि राजधानीमा आयोजना गरेको ‘आप्रवासी श्रमिकको ज्याला ठगी र सामाजिक सुरक्षाको महत्त्व दर्शाउने तीनदिने प्रदर्शनी’ सम्बन्धी कार्यक्रममा उनले जुनसुकै तबरबाट विदेश गएको भए पनि अप्ठ्यारामा परेका नागरिकको जिम्मा राज्यले लिने बताएका हुन् ।
“पर्यटक भिसा, व्यक्तिगत भिसा र अवैधानिक बाटोबाट रोजगारीका लागि विदेश पुगेका श्रमिकलाई वैदेशिक रोजगारसम्बन्धी कानूनले चिन्दैन”, उनले भने, “अवैधरूपमा विदेशिएका नेपाली श्रमिकलाई कानूनले नचिने पनि राज्यले चिन्नुपर्छ ।”
अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मञ्चमा नेपाल सरकारका तर्फबाट आफूले नेपाली आप्रवासी श्रमिकको हकहितका विषयलाई प्रमुखताका साथ उठाएको जिकिर गर्दैै उनले मर्यादित श्रमको वातावरण निर्माण गर्न गन्तव्य मुलुकका सरकारको ध्यान जानुपर्ने बताए ।
सरकारले गन्तव्य मुलुकसँग शून्य लागतमा वैदेशिक रोजगारीमा पठाउने गरी द्विपक्षीय सम्झौता गरेको जनाउँदै उनले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सेवा सुविधा, कानूनी सहायतालगायत बारेमा सचेत बनाउनुपर्ने बताए। उनले वैदेशिक रोजगारीका क्रममा जाने नेपाली श्रमिक स्वदेशदेखि नै ठगीमा पर्दै आएको दृष्टान्त पेश गरे ।
कार्यक्रममा दक्षिण एसियाली क्षेत्रीय ट्रेड युनियन काउन्सिलका महासचिव लक्ष्मण बस्नेतले स्रोत मुलुक र गन्तव्य मुलुकबीच हुने द्विपक्षीय सम्झौतामा आप्रवासी श्रमिकलाई सामाजिक सुरक्षाको व्यवस्था प्रत्यभूति गराउनुपर्ने बताए ।
अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)का कार्यक्रम निर्देशक नेहा चौधरीले आप्रवासी श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने विषय जटिल रहेपनि सामाजिक सुरक्षा श्रमिकको मौलिक हकका रूपमा रहेकाले त्यसलाई सम्बोधन गरिनुपर्ने बताए । वैदेशिक रोजगार विभागका निर्देशक डम्बर सुनुवारले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन सरोकारवाला सबै पक्षको उत्तिकै महत्वपूर्ण भूमिका रहेको बताए।
प्रदर्शनी तीन दिनसम्म चल्नेछ । प्रदर्शनीमा विभिन्न कारणबाट विदेशमा ज्याला ठगीमा परेको नेपालीको भोगाइ राखिएको छ । |
साइप्रसमा चासोक तङ्नाम येले तङ्बे ५०८२ सम्पन्न साइप्रस । याक्थुङ लिम्बुहरुको गौरवशाली संस्था किराँत याक्थुङ चुम्लुङ साइप्रसू को आयोजनामा आइतबार ११ डिसेम्बर २०२२ मा साइप्रसको सुन्दर शहर लिमासोल को ब्रीटानिया म्युजिक हलमा याक्थुङ लिम्बुहरुको महान पर्व (न्वागि पुजा) चासोक तङ्नाम येले तङ्बे ५०८२ तथा २०७९ को पावन अवसरमा शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
चासोक तङ्नामू लिम्बू समुदायले महान् चाडको रुपमा मनाउँदै आएको चाड हो । चासोक तङ्नाम (न्वागी पूजा) अर्थात् उधौली पूजा पनि भन्ने गरिन्छ । उधौली याममा बालीनाली भित्र्याउने बेलामा यो पर्व सम्पन्न गरिन्छ । चासोक तङ्नामलाई न्वागी पर्व पनि भनिन्छ । चासोक भन्नाले उब्जाइएको नयाँ अन्नबाली चढाउने पूजा हो भने तङ्नाम भनेको पर्व हो । लिम्बू भाषामा ‘चासोक’ को अर्थ न्वागी र ‘तङ्नाम’ को अर्थ उत्सव वा चाडपर्व हुन्छ । किराँत समुदायअनुसार मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेँसीतिर बसाइँ सर्ने समय भएको र अन्नबाली भित्र्याइएको खुसीयालीमा यो पर्व मनाउने गरिन्छ ।
लिम्बू जातिको मुन्धुममा उल्लेख भएअनुसार कृषि युग सुरु हुनु अघि लिम्बूका आदिम पुर्खा सावा येत्हाङले कन्दमुल काँचै खाएर जीवनयापन गर्दथे, जसले गर्दा उनीहरु कुपोषण र अनेक रोगव्याधीको शिकार हुन्थे। यी समस्या समधानको विकल्प खोजीमा सर्वशक्तिमान तागेरानिङवाभु माङसँग प्रार्थना गर्दथे र यही प्रार्थनाले गर्दा नै उनीहरूले पेनारमाङदःक (कोदो), परामा (कोदोसँग उम्रने फल्ने), ताक्मारु (घैया), तुम्री(जुनेलो) आदि बीउबिजन तागेरानिवाभु माङले उपलब्ध गराइदिए ।
यसरी धान र अन्नका बीउबिजन पाएपछि लिम्बू जातिको आदिम पुर्खा सावायेहाङका चेली सिबेरा एःक्थुम्माले काठको खन्ती, अङ्कुसे आदिको प्रयोग गरी भस्मे फाँडेर बीउबिजन रोपी छरी अन्न फलाइन् । यसरी छरपोख गरी उब्जाएर खानुभन्दा अगाडि माङहरु (देवीदेवता)लाई चडाउने प्रचलन रहयो, यसैलाई चासोक (न्वागी) पूजा भनिन्छ।
चासोक तङ्नाम (न्वागी पूजा) अवसरमा किराँत याक्थुङ चुम्लुङ साइप्रसू आयोजना गरेको शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रममा युके बाट पाल्नु भएका चर्चित कलाकार गायक सुरेन ताम्लिङको प्रमुख आतिथ्यता साथै उहाँको बेजोड साङ्गितिक प्रस्तुतिका साथ स्थानीय कलाकार परन चाम्लिङ, युके बाटै पाल्नु भएका शसाजन गुरुङ, संस्थाकी सल्लाहकार अमिशा लिम्बू को गायन प्रस्तुति तथा रुबिना लिम्बू , सन्जु मगर, सेनि मगर तथा सर्मिला नेपालीको नृत्य प्रस्तुति सङ्ग याक्थुङ लिम्बुहरुको मौलिक भेषभुषा ,संस्कार संस्कृती, रितिरिवाज झल्किने यालाङ, केलाङ साथै विभिन्न नेपाली साँस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमको प्रस्तुति रहेको थियो ।
सस्थाकी अध्यक्ष चुमन्ता लिम्बू ज्युको सभापतित्वमा आयोजना भएको कार्यक्रमका बिशिष्ट अतिथि गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साइप्रसका अध्यक्ष कुन्दन कार्की थिए भने प्रमुख अतिथी तथा कलाकार युके बाट पाल्नु भएका कलाकार सुरेन तम्लिङ थिए ।
साथै कार्यक्रममा गैर आवासीय नेपाली विद्यार्थी समिती साइप्रसका अध्यक्ष अनिल पोख्रेल, प्रवासी नेपाली मन्च साइप्रसका अध्यक्ष श्याम लाल नेपाली, प्रवासी नेपाली मन्च साइप्रसका प्रमुख सल्लाहकार धत्तानन्द पाण्डे, किरात राइ यायोक्खा साइप्रस अध्यक्ष नबिन राई, नेपाल तामङ् धेदुङ साइप्रस अनुसासन तथा मुल्याङ्न बिभाग प्रमुख सुमित्रा बम्जन तामङ, नेपाल मगर संघ साइप्रस अध्यक्ष दर्शन मगर, तमु सेवा समाज साइप्रस लक्ष्मी गुरूङ्ग, शेर्पा किदुङ्ग साइप्रस कोषाध्यक्ष पाल्मु डोमा शेर्पा, ह्ययल्मो सोसाइटी लफ साइप्रस अध्यक्ष निमा ह्ययल्मो, बेलायत साहित्य प्रतिष्ठान सल्लाह दिपा लिम्बु राइ तथ यक्षराज लिम्बू, क्याप्टेन पवन शेरचन QOGLR,मेजर बिवेक जंग शाही QOGLR, RSM राज गुरूङ्ग QOGLR,बिष्नु लिङ्देन लगायत साइप्रसमा क्रियाशिल विभिन्न संघ सस्थाहरुका प्रतिनिधिहरु, अग्रज व्यक्तित्वहरु, बुद्दिजीवीहरु साथै नेपाली समाजको सहभागिता रहेको थियो ।
मिडिया पाट्नरको रुपमा युरोप गतिविधिू बाट प्रकाश बराइली र प्राबिधिक साथ लाखे क्रीएसनू साइप्रसका बिकास श्रेष्ठले गरेका थिए ।
|
बेलायत र नेपालबीच वार्ता, वेल्फेयर र पेन्सनका विषयमा छलफल लन्डन । भूतपूर्व गोर्खाहरूको मुद्दामा बेलायत र नेपालबीच जारी वार्तामा प्राविधिक स्तरको बैठक सम्पन्न भएको छ । लन्डनस्थित बेलायती रक्षा मन्त्रालयमा बिहीबार दुई छुट्टाछुट्टै सत्रमा वेल्फेयर र पेन्सनका विषयमा छलफल भएको नेपाली दूतावास लन्डनले जनाएको छ ।
दूतावासले बिहीबार साँझ विज्ञप्ति जारी गर्दै वैठकमा भूपूगोर्खाहरूको औषधि उपचार, शिक्षा, रोजगारीलगायत कल्याणकारी विषयमा छलफल भएको जनाएको छ । बैठकमा नेपाली पक्षले उठाएका मागका सम्बन्धमा बेलायतस्थित रक्षा मन्त्रालयका पदाधिकारीहरूले आगामी दिनमा थप छलफल गर्न तयार रहेको बताएका थिए ।
बैठकमा नेपाल सरकारका तर्फबाट नेपाली दूतावासका सैनिक सहचारी रत्नबहादुर गोदार, द्वितीय सचिव रामबाबु नेपाल र भूपूगोर्खाको तर्फबाट जुद्धबहादुर गुरुङ, टिकेन्द्र देवान, उदयबहादुर गुरुङ, केशबहादुर गुरुङ र धर्म तामाङ सहभागी थिए ।
|
भारतमा रुसी युवती बलात्कार अभियोगमा दुई नेपाली पक्राउ नयाँ दिल्ली। भारतको पर्यटकीय शहर गोवामा एकजना रुसी युवतीलाई बलात्कार गरेको आरोपमा दुई नेपाली पक्राउ परेका छन्।
यसरी पक्राउ पर्नेमा २३ बर्षीय सकिल अन्सारी र २३ बर्षीय नै सयुम्दीन अन्सारी छन्। यी दुबैजना नेपालको बर्दिया जिल्लाका स्थायी बासिन्दा भएको गोवा प्रहरीले जनाएको छ। उनीहरुलाई डिसेम्बर ७ मा गोवाबाटै पक्राउ गरिएको थियो।
गोवा प्रहरीका अनुसार, यी दुबैले एउटी ३७ बर्षीया रुसी युवतीलाई उनी बसेको होटलको कोठामा नै बसेर बलात्कार गरेका थिए। समाचारअनुसार, यी दुबैजना सोही होटलमा सरसफाइ विभागमा काम गर्ने कर्मचारीहरु हुन्। ती रुसी युवती आफ्ना दुई साथीसहित पर्यटकीय शहर गोवाको भ्रमणमा गएकी थिइन्।
आफ्ना साथीहरुसँग मादक पदार्थसमेत सेवन गरेर ती रुसी युवती होटलको कोठामा पसेकी थिइन्। यो थाहा पाएर अभियुक्तमध्येको एकजनाले होटलमा सरसफाइ गरिदिने वाहनामा सो कोठाभित्र पसेको र नसामा रहेकी ती युवतीसँग शारीरिक सम्बन्ध राखेका थिए।
केही छिनपछि अर्का आरोपी पनि सो कोठाभित्र पसेको र ती युवतीमाथि यौन दुव्र्यबहारको प्रयास गरेपछि उनी चिच्याएकी थिइन्। त्यसपछि होटलले प्रहरीलाई बोलाएको थियो। तर, प्रहरीले उजुरी भने घटना घटेको भोलिपल्टमात्र दर्ता गरेको थियो।
यी दुबैजना भारतको पश्चिम बंगालबाट गोवा पुगेका र पश्चिम बंगालमा पनि चोरीको आरोपमा तीन महिना जेल बसेर धरौटीमा रिहा भएका थिए। भारतीय संचारमाध्यमहरुका अनुसार उनीहरुलाई हरेका पन्ध्र दिनमा ठानामा उपस्थित हुन अदालतले आदेश दिएको थियो। |
मन्त्री हटचिनसद्वारा मेलबर्नमा महिला संघर्ष र सफलतामा केन्द्रित पुस्तक बिमोचन मेलवर्न। मेलवर्नमा ‘Nepalese Women’s Tales of Resilience’ नामक पुस्तक विमोचन गरिएको छ। अष्ट्रेलियाको भिक्टोरिया राज्यको महिला तथा शिक्षा मन्त्री नातालिय हटचिनसले उक्त पुस्तक विमोचन गरेकी हुन्।
दिदी- बहिनी समाज भिक्टोरियाले नेपालबाट अष्ट्रेलिया आएर भोग्नु परेका समस्या, संघर्ष र सफलतालाई समेटेर लेखिएका प्रेरणादायी ३९ कथालाई समेटेर पुस्तक तयार परेको हो। पुस्तक विमोचन गर्दै राज्यमन्त्री हटचिनसले पुस्तक धेरै महिलाका लागि प्रेरणको स्रोत बन्ने कुरामा सन्देह नरहेको बताइन्।
भिक्टोरिया बहुसांस्कृतिक आयोगका अध्यक्ष भिभियन न्ङुयन, सांसद काथलिन म्याथ्युज, काउन्सिलरहरु सु बोल्टन, मार्क रिले, मोनिका हार्ट, अजी आक्सन अब्रोडका प्रमुख कार्यकारी अधिकृत ग्राएम केन्ट, एनसिएलसीका प्रमुख कार्यकारी अधिकृत जेनी स्मिथ, ब्याङसिया गार्डेनका प्रमुख कार्यकारी अधिकृत जिना डगल, युनाइटिङ चर्चका क्याथरिन स्मिड्ट, रेफ्युजी कम्युनिटी एसोसियसन अस्ट्रेलियाका अध्यक्ष परसुराम शर्मा लुइँटेल आदिको उपस्थिती रहेको उक्त कार्यक्रममा संस्थाकी अध्यक्ष डा जमुना पराजुलीले स्वगत मन्तव्य राखेका थिइन्।
कार्यक्रममा संस्था स्थापना भएको दश बर्षको समयाबधिमा संस्थाले घरेलु हिंसा क्षेत्रमा गरेका कार्यक्रम र उपलब्धीको बिषयमा भिडियो प्रदर्शन गरिएको थियो। संस्थाले घरेलु हिंसा सम्बन्धमा दुई लघु चलचित्र समेत निर्माण गरिसकेको छ भने तीज मनाउने क्रममा रकम संकलन गरी उठेको रकम नियमित रुपमा यौनरघरेलु हिंसामा परेका महिलाहरुको सहयोगको लागि उपयोग गर्ने गरी सामाजिक कार्यलाई प्रबर्द्धन गर्ने सिग्नेचर पर्बको रुपमा समेत मनाउने गरेर अहिलेसम्म नेपालमा त्यस क्षेत्रमा कृयाशिल ‘आवाज’ मार्फत २२,००० डलर पठाइ ११० भन्दा बढीलाई सहयोग गरिसकेको छ।
पुस्तकको संपादन रामकुमार श्रेष्ठ, टिना लिन्डन, रोशन भन्डारी र कभर डिजाइन सोपान प्रेस प्रालि द्वारा गरिएको थियो भने लुक ह्यारिसद्वारा पुस्तक प्रकाशनको सम्पूर्ण प्रकृयाको संयोजनकारी भूमिका निर्बाह गरिएको थियो । |
मलेसियामा हत्या गरिएका दुई नेपाली गार्डको पहिचान खुल्यो, हत्या आरोपमा नेपाली नै पक्राउ क्वालालाम्पुर। मलेसियाको सेरेम्बन शहरमा हथौडाले मुखै मुखमा हानेर दुई नेपाली सुरक्षा गार्डको हत्या अर्का एक नेपालीले नै गरेको भन्दै मृतक र अभियुक्तको पहिचान खुलाइएको छ। र,ती अभियुक्त नेपालीलाई अदालतसमक्ष मलेसियन प्रहरीले पेश गरेको छ।
समाचारअनुसार, हत्या गरिएका दुई सुरक्षा गार्डहरुमा ३५ बर्षीय मनोजकुमार चौधरी र ४६ बर्षीय कृष्णकुमार दमाई परियार छन्। उनीहरुलाई ओकल्याण्ड कमर्सियल सेन्टरको हाताभित्र स्थानीय प्रहरीले मृत अवस्थामै फेला पारेको थिए।
प्रहरीले यी दुबैको हत्याको आरोपमा ३७ बर्षीय ठाकुरप्रसाद भण्डारीलाई पक्राउ गरेको छ। उनलाई घटना भएकै दिन घटनास्थलमै पक्राउ गरिएको थियो। प्रहरीले सार्वजानिक गरेको विवरणअनुसार हत्यामा प्रयोग भएको हथौडा पनि घटनास्थलमै बरामद गरिएको थियो।
अभियुक्त भण्डारीलाई बुधबार अपरान्ह सेरेम्बन मेजिस्टट कोर्टमा पेश गरिएको थियो र मेजिष्टेट मोहमद इब्राहिम हेहम्मद घुलामको इजलासमा यो मुद्दाको सुनुवाई भइरहेको छ।
अभियुक्त भण्डारीले के कारणले आफ्नै देशका दुई व्यक्तिको हत्या गरेका हुन् भन्ने कुरा खुलिसकेको छैन। तर, अदालतसमक्ष उनीमाथि हत्याको आरोप लगाउँदा उनले कुनै प्रतिवाद नगरेको र स्वीकार गरेको स्थानीय संचारमाध्यम द स्टारले लेखेको छ।
घटना डिसेम्बर ३ तारिकको दिन विहान ९ बजेर ८ मिनेटदेखि ४ बजेर ४८ मिनेटको बीचमा भएको सो अखवारको समाचारमा जनाइएको छ। मृतकहरु दुबैजनाको नेपालको स्थायी ठेगानामा पनि स्पष्ट भइसकेको छैन। |
आफ्ना उपाध्यक्ष तथा राखेपका पूर्व सदस्य सचिव सिंहप्रति हिमानी ट्रष्ट अमेरिकाको श्रद्धाञ्जली काठमाडौँ । हिमानी ट्रष्ट अमेरिकाका उपाध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्व सदस्यसचिव किशोरबहादुर सिंहको निधनको १३ औं दिनमा हिमानी ट्रष्ट अमेरिकाले उनीप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।
हिमानी ट्रष्ट अमेरिकाका अध्यक्ष हरि शर्मा तथा महासचिव आनन्दु लामाले एक विज्ञप्ति मार्फत स्व. सिंहप्रति श्रद्धान्जली अर्पण गर्दै समवेदना प्रकट गरेका हुन् । ब्याडमिन्टनका पूर्व राष्ट्रिय च्याम्पियन समेत रहेका सिंहको डिसेम्बर १ मा निधन भएको थियो ।
२०५९ सालदेखि नेपाली खेलकुदको सर्वोच्च कार्यकारी पदमा रहेर २०६३ वैशाखसम्म परिषद्लाई नेतृत्व प्रदान गरेका सिंहको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
२०२९ देखि २०३४ सालसम्म राष्ट्रिय ब्याडमिन्टनमा लगातार ६ पटक एकल तर्फको उपाधि जित्नेका सिंहको ह्रदयघातका कारण निधन भएको हो ।
|
अनेसास क्यानडाको आयोजनामा हजुरबुबा हजुरआमा दिवस सम्पन्न (तस्बिरसहित) क्यानडा । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास) क्यानडाले गत आषाड २९ गते भानुजयन्तिका दिन, मंशिर महिनाको तेश्रो शनिवारलाई हजुरबाआमा दिवस मनाउने घोषणा गरेको थियो । सोहीअनुरूप मंशिर २४ गते त्यस्तै गरी डिसेम्बर १० तारिकका दिन अनेसासले हजुरबाआमा दिवसको आयोजना गर्यो ।जूम मार्फत भएको उक्त कार्यक्रममा नेपाली राजदूताबासका तर्फबाट कन्सूलर रोजिना ताम्राकारको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । क्यानडाका बिभिन्न शहरहरू अटवा, लण्डन अन्टारियो, किचेनर, विण्डसर, टोरण्टो, एडमण्टन क्यूवेक आदि शहरहरूबाट नातिनातिना र हजुरबाआमा जोडिएका थिए ।
त्यस्तै गरी अमेरिकाका वासिंगटन डिसी, भर्जिनिया, डालस, अस्टिन आदि ठाउँबाट सहभागिता रहेको थियो । त्यस्तै गरी काठमाण्डौ,मोरङ र झापाका बिभिन्न ठाउँबाट कार्यक्रममा जोडिनु भएको थियो । सानी वालिका संस्कृती बुढाथोकीको संस्कृतको “बक्रतुंण्ड महाकाय” भन्ने श्लोकबाट शुभारम्म गरिन् । उनले आफैँ तयार गरेका बिभिन्न मिष्टान्न भोजनहरू हजुरबुबा र हजुरआमालाई अर्पण गरेर सम्मान गरिएको थियो । हिमालयन नेपाली स्कुलका बालवालिकाहरूले आआफ्ना कविताहरू वाचन गरेर सुनाएका थिए । बेलिस्मा फुयाल, मन्जिल भण्डारी, बर्षा राई, अन्जली राई, बर्षा तिम्सिना, आदम राई एन्जला राई, सम्पदा दुलाल, मविर राई,सचिन चौँलागाई, राजेन्द्र श्रेष्ठ, जस्लिन ढकाल, मोहन सिटौला आदि कविहरूले कविता वाचन गरेर सुनाएका थिए ।
अतिथिहरूमा अनेसासका पूर्वअध्यक्ष साहित्यकार, प्राध्यापक मोहन सिटौला, अनेसासका वरिष्ठ उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, अनेसासका महासचिव विमला ढुंगाना निरौला, हिमालयन नेपाली बिधालयका प्राचार्य ब्रायन खड्का, र शिक्षक सन्तमान राई, अनेसास डिसीका महासचिव कविन्द्र सिटौला, जगदिस पराजुली ,पंडित धर्मदास शास्त्री ,एनआरएनका पूर्वकोषाध्यक्ष सुर्य भट्टराई, अनेसास क्यानडाका सल्लाहकार कृष्णहरि गौतम, चिजू गौतम , सुरेन उप्रेती, निकिता उप्रेती, कविता खरेल, दिपक त्रिपाठी, सृष्टी खरेल, इसा भट्टराई, रन्जना कार्की , नविन सुवेदी, सन्तोष बराल सहभागी थिए । त्यस्तै नेपालबाट रेणु शर्मा, कमला उप्रेती, पवित्रा चौँलागाई, विसिका संग्रौला, अन्वेशिका अधिकारी,आकांक्षा खरेल , बबिता सिटौला ,सिता घिमिरे मैनाली सहभागि थिए।
प्रमुख अतिथिको आशन ग्रहण गर्दै कन्सूलर रोजिना ताम्राकारले हजुरबुबा र हजुरआमा भनेको हिँजोको ईतिहाँस र भोलिको भविष्यको मार्ग दर्शक भएको बताइन्। उनले भनिन्, ‘यो दिनले दुई पिंडीलाई जोड्ने काम गरेको छ । उहाहरूले नातिनातिनालाई कुनै आग्रह विनानै ममता दिएर अशल नागरिक बन्न हरेकपाइलामा प्रेरित गर्नु हुन्छ। हजुरबाआमा पहिलो गरू हुनु हुन्छ । उहाँहरूको खुशीको लागि हामीले समय दिनु पर्दछ । सदैब सम्झनु पर्दछ । उहाँहरू जीवित देवता हो।’ अनेसास क्यानडाले यो कार्यको शुरू गरेर महत्वपूर्णकाम गरेको छ भन्दै शुभकामना दिइन् ।
अनेसासका संस्थापक अध्यक्ष एवम सल्लाहकार सुरेन उप्रेतीले हजुरबाआमा दिवसको थालनी किन गरिएको हो भन्ने बारेमा चर्चा गर्दै भने, ‘हामी कुशेऔंशीमा बुबालाई सम्मान गर्छौँ । मातातीर्थ औँशीमा आमाहरूलाई सम्मान गर्दछौँ । तीजमा चेलिवेटीहरूलाई बोलाउने र खुवाउने गरिन्छ । त्यस्तै गरी तिहारलाई चेलीमाइतीको पर्वका रूपमा मनाइन्छ ।
तर हजुरबाआमाका लागि त्यस्तो कुनै दिन छैन । त्यो अभावका कारण नातिनातिना र हजुरबाआमाका विचमा ठूलो खाडल रहेको छ । त्यो खाडल मेटाउन र जीवित देवतारूपी हजुरबाआमा सँग नातिनातिना नजिक बनाउन यो दिनको आवश्यकता पर्दछ । हजुरबाहजरआमालाई मिठो भोजन गराउने, उपहारहरू दिने, पूजा गर्ने,घुम्न लैजाने र उहाँहरूका कुरा सुन्ने अनि आशिर्वाद लिने दिन हो आज । हजुरबाआमाको सम्मान गर्न यो दिवसको परिकल्पना गरिएको हो । अनेसास क्यानडाले गत आषाड २९मा भानुजयन्तिका दिन मंशिर महिनाको तेश्रो शनिवारलाई हजुरबाआमा दिवस मनाउँने घोषणा गरेको थियो।
अर्का बक्ता अनेसासका सल्लाहकार कृष्णहरि गौतमले हजुरबाआमा र नातिनातिनाको प्रगाढ सम्बन्धका बारेमा चर्चा गरे । कार्यक्रममा प्राध्यापक मोहन सिटौलाले हामी ऋषीहरूका सन्तान भएको बताए । उनले भने,‘ हाम्रो बैद्धिक संस्कृतिमा बृद्धबृद्धाहरूलाई भगवानका रूपमा हेर्ने चलनछ । हामीले अरू पश्चिमेली संस्कृतिलाई पनि यो सन्देस प्रवाह गर्नु पर्दछ । यो अति उत्तम कार्यको थालनी भएको हो।’ कार्यक्रममा चिजु गौतम, सन्तमान राई, कमला उप्रेती, रेणु शर्मा, जगदिस पराजुली, धर्मदास बुढाथोकी, अनेसासकी महासचिव विमला ढुंगाना निरौला, बरिष्ठ उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, कविता खरेल आदिले गहन विचारहरू राख्दै शुभकामना दिएका थिए।
कार्यक्रममा क्यानडाका लागि नेपाली राजदूत श्री भृगु ढुँगानाले पठाएको सन्देशलाई निकिता उप्रेतीले वाचन गरेर सुनाए । कार्यक्रमलाई रन्जना कार्कीले सन्चालन गरेकी थिइन् भने अनेसासकी सचिव ईशा भट्टराईले सबैलाई स्वागत गरिन् ।
अनेसास क्यानडाका अध्यक्ष तारा उप्रेतीको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रमम व्यस्त समयका बाबजूद उपस्थित सबै श्रष्टा, साहित्यकारहरू, अनेसासकेन्द्रका प्रतिनिधिहरू, राजदूतावासका कनशूलर रोजिना ताम्राकार ,उपस्थित हजुरबाआमाहरू, सानानानीबाबूहरू र सहभागी सबैलाई धन्यवाद दिँदै यो कार्यलाई सन्सारभरी फैलाए मात्र आजको हजुरबाआमा दिवसले शार्थकता पाउँने बताए ।
त्यस्तै गरी अनेसास क्यानडाको आव्हानमा साथ दिँदै सन्सारका बिभिन्न ठाउँहरूबाट हजुरबुबा हजुरआमा दिवस मनाएका सन्देश र तश्विरहरू प्राप्त भएका छन् । कती तस्बिरहरु हजुरबाआमाको सम्झना र सम्मानमा प्रस्तुत भएका छन् ।
भिडियोः
|
जापानमा सुतेकै अवस्थामा एक नेपाली युवाको निधन टोकियो । जापानको नागोयामा नेपाली युवा विद्यार्थी नवराज वाग्लेको निधन भएको छ । जापान आएको ६ महिना नपुग्दै उनको असामयिक निधन भएको हो।
नेपालको नुवाकोट घर भएका वाग्ले हाल जापानमा विद्यार्थी भिसामा आएका थिए । आफ्नै कोठामा सुतेको अवस्थामा उनको निधन भएको बुझिएको छ ।
राति कामबाट फर्किएर वाग्ले बिहान खाना खाएर सामान्य अवस्थामै सुतेका थिए। साँझ काममा जाने बेलासम्म पनि नउठेपछि उठाउन खोज्दा उनी अचेत अवस्थामा भेटिएपछी तत्काल उनलाई अस्पताल पुर्याइएको थियो । अस्पताल पुग्दा उनको मृत्यु भइसकेको चिकित्सक ले बताएका थिए ।
२७ वर्सीय वाग्लेको मृत्यु अत्याधिक बल्ड प्रेसरका कारणले भएकाे चिकित्सकले जानकारी दिए ।
नुवाकोट मदनपूरका वाग्ले जापान आएको छ महिना मात्र भएँको थियो । हाल जापानी भाषा विद्यालयमा अध्ययनरत गर्दै आएका वाग्लेको अन्त्येष्टि नागोयामा सोमबार गर्ने तयारी भइरहेको छ । |
हथौडाले अनुहारमा हानेर मलेसियामा दुई नेपाली सुरक्षा गार्डको हत्या क्वालालाम्पुर। मलेसियाको सेरेम्वान शहरमा दुईजना नेपाली अनुहारमा हथौडाले हानेर मारिएको अवस्थामा फेला परेका छन्।
ओकल्याण्ड कमर्सियल सेन्टर नजिक भएको सो घटनामा घटनास्थलमै एकजना नेपाली पनि पक्राउ परेका छन्। घटना डिसेम्बर ३ तारिकको हो। साँझ ६ बजेर ४५ मिनेटमा सो घटनाबारे स्थानीयले प्रहरीलाई जानकारी दिएपछि सेरेम्बान प्रहरी घटनास्थल पुगेको थियो।
घटनास्थलमा तीनजना नेपालीमध्ये दुईजना हथौडाले प्रहार गरी अनुहार कुच्चिएर मृत भइसकेको र एकजना सकुशल पाइएएका थिए। तिनै सकुशल पाइएका एक नेपालीलाई घटनास्थलमा भएको हथौडासहित प्रहरीले पक्राउ गरेको छ।
मृतक तथा अभियुक्त भनिएका तीनजना नै नेपाली भएको खुलाए पनि प्रहरीले उनीहरुको नाम सार्वजानिक गरेको छैन। प्रहरीलाई उदृत गर्दै स्थानीय संचारमाध्यम द स्टारले दुई मृतहरु सुरक्षा गार्डका रुपमा कार्यरत रहेको र उनीहरुको उमेर एउटाको ३५ र अर्काको ४६ रहेको उल्लेख गरेको छ।
सो अखबारले घटनास्थलमै पक्राउ परेका नेपाली व्यक्तिको तस्वीर पनि सार्वजानिक गरेको छ । प्रहरीले पक्राउ परेका व्यक्तिले मादक पदार्थ सेवन गरेको बताएको र मृतकहरुको फरेन्सिक परिक्षण गरेर थप अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको पनि समाचारमा उल्लेख छ । |
साथीलाई गुप्ताङ्गमा हानेर हत्या गरेकाे अभियोगमा भारतमा चार नेपाली पक्राउ नयाँ दिल्ली। आफ्नै सहकर्मीको हत्या गरेर नालीमा फालेको आरोपमा भारतको बेंगलोरमा चार नेपाली पक्राउ परेका छन्। उनीहरुले धनसिंह धामी नामक नेपाली युवाको गुप्ताङ्गमा हानेर हत्या गरेको बयान पनि प्रहरीसमक्ष दिएका छन्।
धनसिंह धामीको हत्याको चारदिनपछि हत्याको आरोपमा हेन्नुर प्रहरीले दिनेशसिंह धामी, शेरसिंह धामी, दीपक धामी, नरेन्द्र धामी र एक नाबालकलाई डिसेम्बर ४ तारिक आइतबार पक्राउ गरेको हो। पक्राउ परेकाहरुले हत्या आफूहरुले मिलेर गरेको बयान दिएका छन्।
कलेज पढ्दादेखि नै आफूहरुलाई हेप्ने, दुव्र्यवहार गर्ने र अपमान गर्ने गरेकाले मौका पारेर धनसिंहको हत्या गरेको बयान अभियुक्तहरुले दिएका स्थानीय संचारमाध्यमहरुले उल्लेख गरेका छन्।
धनसिंहले मादक पदार्थ सेवन गरेर आफूहरुलाई निरन्तर दुव्र्यवहार गर्ने गरेका कारण चुरोट खुवाउने वाहनामा काम गर्ने स्थानबाट अलि पर लगेर प्राइभेट पार्टमा हानेर ढलाई घाँटी थिचेर हत्या गरेकाे अभियुक्तहरुले बयान दिएका छन्।
धनसिंह बाबुसपल्या भन्ने स्थानको एउटा पेइङ्ग गेष्ट हाउसमा सफाइ कर्मचारीका रुपमा कार्यरत थिए। बुधवार साँझ मारेपछि धनसिंहको शवलाई नालीमा फालेर उनीहरु फर्किएका थिए।
यसको केही दिनपछि स्थानीयहरुले नालीमा लास देखेको र त्यो कुहिएर दुर्गन्धित हुन थालेको जानकारी प्रहरीलाई दिएका थिए। प्रहरीले मृतकको पहिचान गरेर सोही दिन अभियुक्तहरुलाई पनि पक्राउ गर्न सफल भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन्। |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.