content
stringlengths 20
64.1k
⌀ |
---|
देवघाट स्नानका लागि निःशुल्क र्याफ्टिङ नवलपुर । नवलपुर, तनहुँ र चितवन तीन जिल्लाको सङ्गममा पर्ने पवित्र तीर्थस्थल देवघाटधाममा स्नान गर्न जानका लागि नवलपुरतर्फबाट निःशुल्क ¥याफ्टिङ डुङ्गाको व्यवस्था गरिएको छ ।
जिल्लाको गैँडाकोट नगरपालिका–३ का वडाध्यक्ष शिवकान्त तिवारीले केलादीघाट हुँदै वेणीमा जानका लागि निःशुल्क ¥याफ्टिङ डुङ्गाको व्यवस्था गरिएको बताए । “माघे सङ्क्रान्तिको दिन नवलपुर र चितवन जोड्ने नारायणी नदीको पुल तरेर नारायणगढ हुँदै देवघाटको वेणी पुग्न तीर्थालुलाई निकै कठिन र असहज हुने गरेको छ”, वडाध्यक्ष तिवारीले भने, “तीर्थालुहरूले माघे सङ्क्रान्ति स्नान सहजरूपमा गरुन् भन्ने उद्देश्यले हामीले केलादीघाटबाट निःशुल्क ¥याफ्टिङ डुङ्गाको व्यवस्था गरेका हौँ ।” नवलपुरसहित पश्चिमबाट आउने तीर्थालुहरू गैँडाकोटको केलादीघाट हुँदै देवघाट स्थान गर्न जाँदा सहज र छिटो हुने तिवारीको भनाइ छ ।
“हाम्रो वडाको प्रचारप्रसारसहित सहज बाटोबाट तीर्थालुहरू देवघाट पुगुन् भन्ने उद्देश्यले हामीले पहल गरेका हौँ”, वडाध्यक्ष तिवारीले भने, “डुङ्गा सञ्चालकसँग हामीले सम्झौता गरेका छौँ, उनीहरूलाई वडा कार्यालयले नै शुल्क भुक्तानी गर्छ, डुङ्गा चढ्ने तीर्थालुसँग कुनै पनि शुल्क लिदैनौँ ।”
गैँडाकोटको पुलचोकबाट करिब पाँच किलोमिटर उत्तरतर्फ लागेपछि केलादीघाट आउने भन्दै तिवारीले केलादीघाट तरेपछि देवघाटको वेणी सङ्गममा पुग्न सकिने बताए । “माघे सङ्क्रान्तिको बेला चितवनतर्फबाट देवघाट जान भीडभाड मात्रै होइन बाटो पनि लामो पर्छ”, वडाध्यक्ष तिवारीले भने, “नवलपुरबाट सिधै देवघाट पुग्नका लागि बाटो छोटो र सहज हुने पनि हुन्छ ।”
नवलपुरभन्दा पश्चिमबाट आउने सबै तीर्थयात्रीलाई गैँडाकोटको केलादीघाटको बाटो प्रयोग गर्न वडाध्यक्ष तिवारीले आग्रह गरे । मुक्तिनाथबाट बग्दै आएकी कालिगण्डकी नदी र दामोदर कुण्डबाट बग्दै आएकी त्रिशूली नदीको सङ्गमस्थल देवघाटधाममा माघे सङ्क्रान्ति पर्वको अवसरमा लाखौँ भक्तजन आउने गर्छन् । माघे सङ्क्रान्ति स्नानका लागि आजदेखि नै भक्तजन आउन सुरु गरेका देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्रीप्रसाद अधिकारीले बताए ।
देवघाट मेलालाई मध्यनगर गर्दै यहाँ यातायात, खानेपानी, शौचालय, बिजुलीबत्तीलगायतका सबै तयारी भएको अधिकारीको भनाइ छ । तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षाकर्मीको बैठकबाट सुरक्षा व्यवस्था कडा बनाउने निर्णयअनुसार काम भइरहेको अधिकारीले बताए । |
ऐसेलुखर्क गाउँपालिकामा पशु बिमा कार्यक्रम अलपत्र खोटाङ । खोटाङको ऐसेलुखर्क गाउँपालिकामा एक आर्थिक वर्षपछि नै पशु बिमा कार्यक्रम अलपत्र परेको छ । पशु पालनलाई प्रमुख व्यवसाय बनाएका किसानलाई लक्षीत गर्दै लुम्बिनी इन्सुरेन्स कम्पनीले आर्थिक वर्ष २०७५र०७६ मा पशु बिमा कार्यक्रम सुरु गरेको थियो ।
सुरुका वर्ष १७ वटा बाख्रा र ६ वटा बंगुुरको बीमा गरेका किसानले आर्थिक वर्ष २०७६/०७७ बाट पशु बिमा नविकरण नगरेको गाउँपालिकाका पशु सेवा शाखाका प्रमुख प्रमोदकुमार राजभण्डारीले बताए ।
वर्ष दिनको अवधिमा किसानले दुई वटा बाख्राको बिमा वापतको रकम पाएका थिए । कतिपय किसानले पशु बिमा दावी गर्न आउँदा बिमा नविकरण नगरेको पाइएपछि रित्तो फर्काइएको थियो ।
नेपाल सरकारको केन्द्रिय कार्यक्रम अनुशार गाउँपालिकाको समन्वयमा पशु बीमा सुरु गरेको लुम्बिनी इन्सुरेन्स कम्पनीले अभिकर्ता अभावमा वीमा नविकरण गर्न नसकेको जनाइएको छ । बिमा कम्पनीको अभिकर्ता नहुँदा गाउँपालिकाकै कर्मचारी खटिएर पशु विमा गर्न सहयोग गरेका थिए । पशु बिमालाई पुनस् निरन्तरता दिनका लागि पहल भइरहेको पशु सेवा शाखाका प्रमुख राजभण्डारीले बताए ।
ग्रामिण क्षेत्रका किसानको मूख्य सम्पतीको रुपमा रहेको गाई, भैंसी, बंगुुर मर्दा हुने आर्थिक क्षतीबाट जोगाउनका लागि गाउँपालिकामा पशु वीमा कार्यक्रम लागू गरिएको थियो । बिमा गरेको एक वर्षभित्र पशु मरे वा क्षती पुगेमा किसानलाई बिमांक रकमको ९० प्रतिशत रकम प्रदान गर्नेगरी गाउँपालिकामा पशु बीमा सुरु गरिएको थियो । |
मन्त्री श्रेष्ठद्वारा यातायात व्यवस्थाको सेवालाई छिटो छरितो बनाउन छलफल काठमाडौं । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले यातायात व्यवस्थाका सबै सेवालाई छिटोछरितो बनाउन छलफल गरेका छन् ।
सिंहदरबारस्थित मन्त्रालयमा आज मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, यातायात व्यवस्था विभागका महानिर्देशक डा टोकराज पाण्डेयलगायत यातायातका कर्मचारीलाई यातायात व्यवस्थाका सबै सेवालाई अनलाइनसहित छिटो छरितो र सरल बनाउने विषयमा छलफल गरेको उनका प्रेस संयोजक कमल गिरीले जानकारी दिए ।
यातायात व्यवस्थाका सेवाको ढिलासुस्तीबारे जनगुनासो आएपछि मन्त्री श्रेष्ठले यातायातका सेवा सुविधालाई छिटोछरितो बनाउन आग्रह गरेका हुन् । |
बागमतीमा फोहर फाल्न कमी भएन काठमाडौँ । लामो समयदेखि सफाइ अभियान सञ्चालन गरे पनि बागमती नदीमा फोहर फाल्न रोकिएको छैन । अभियानकर्मी किशोरसिंह शाहीले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले निर्माण गरेको भकारी एवं चौरमा बसी गुह्रेश्वोरी मन्दिर अगाडि गौरीघाट नजिकैको नदी किनारमा फोहोर फाल्ने काम नियमित भएको बताए ।
उनका अनुसार अझै पनि बागमती नदीमा मोटरका पार्टपूर्जा, बियरका क्यान, मोटर साइकलका टायर, घरबाट निस्किने फोहर फाल्ने गरिएको पाइएको छ । सफाइको मुख्य जिम्मेवारी स्थानीय सरकारको भए पनि काठमाडौँ महानगरपालिकालगायत काठमाडौँ उपत्यकाका अन्य नगरपालिकाले काम गर्न सकेका छैनन् ।
स्थानीय सरकारले फोहर फाल्नेलाई दण्ड जरिवाना नगरेसम्म नदी सफाइ अभियान सफल नहुने उनको अनुभव छ । बागमती सफाइ महाअभियानले विसं २०७० जेठ ५ मा सफाइ सुरु गरे पनि तीन वटै तहका सरकारले प्रभावकारी रुपमा काम नगर्दा अभियानकर्मीले दुःख प्रकट गरेका छन् ।
बागमती सफाइ अभियानको ५०५औँ हप्तामा आज गौरीघाट नजिकै अधिकार सम्पन्न बागमती समितिका अध्यक्ष उद्धवप्रसाद तिमिल्सिना, अधिकार सम्पन्न बागमती समितिका कर्मचारी, तिलगङ्गा महिला समूह एवं बागमती अभियानकर्मीले सफाइ गरी एक दशमलव पाँच मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन गरेका छन् ।
सफाइ अभियानबाट उठाइएको फोहर काठमाडौँ महानगरपालिका वातावरण विभाग टेकुको ट्रकमा हालेर व्यवस्थापन गरिएको छ । अर्को शनिबार आगामी माघ ७ गते पनि गौरीघाट क्षेत्रमै सफाइ गरिने जनाइएको छ । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ प्रत्येक हप्ताको शनिबार बिहान ७ः३० बजेदेखि ९ः३० बजेसम्म दुई घण्टा नदी सफाइ हुँदै आएको छ ।
विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको बागमती सफाइ महाअभियानले यसका सहायक नदी सफाइ गर्नसमेत जागरुक बनाएको छ । काठमाडौँ उपत्यकामा बागमतीका सहायक नदीसँगै चक्रपथका विभिन्न क्षेत्रमा गरी २० स्थानमा सफाइ भइरहेको छ ।
यसैगरी उपत्यका बाहिर मुख्य सहर, नदी र सांस्कृतिक सम्पदास्थलमा सफाइ भइरहेको छ । उपत्यका र बाहिर गरी हाल १०७ स्थानमा सफाइ भइरहेको जनाइएको छ । बागमती सफाइ महाअभियान सुरु भएदेखि प्रत्येक हप्ता शनिबार निरन्तर जारी छ । जाडो, गर्मी, वर्षा, चाडपर्व, भूकम्प, नाकाबन्दी कोरोना महामारीजस्ता प्रतिकूल अवस्थामा पनि सफाइ निरन्तर छ ।
हप्तामा दुई घण्टा देशसेवाका लागि स्वयंसेवा भन्ने नाराका साथ अभियानकर्मी न नदी किनारमा उत्रने गरेका छन् । काठमाडौँ उपत्यकामा बागमती नदीका सबै सहायक नदीमा सफाइ अभियान सुरु भइसकेको छ । अभियानलाई स्थानीय सरकारले साथ नदिँदा भने प्रभावकारिता बढ्न सकेको छैन । |
लिङ्गो गाडेर शुभारम्भ गरियो माघे सङ्क्रान्ति मेला चितवन। पवित्र तीर्थस्थल देवघाटको बेनीमा आज बिहान बाँसको लिङ्गो गाडेर माघे सङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको छ।
गलेश्वर आश्रमका पीठाधीश अनन्त श्री विभूषित आत्मानन्द गिरी जी महाराज, हरिहर आश्रमका पिठाधीश १००८ स्वामी ज्ञानानन्द जी महाराज, महेश सन्यास आश्रमका पीठाधीश १००८ स्वामी रमणानन्द जी महाराजसहित सन्तमहन्त, बटुकलगायत स्थानीय व्यक्तिको उपस्थितिमा बाँसको लिङ्गो ठड्याइएको हो।
यसअघि गलेश्वर आश्रममा भेला भएर विधिवत्रुपमा लिङ्गोसहित शोभायात्रा बेनीमा पुगेको थियो। सो अवसरमा देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्री अधिकारी, सदस्य नवराज ढकाललगायतको उपस्थिति रहेको थियो।
यससँगै चितवन, तनहुँ र नवलपरासीको सङ्गमस्थल देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु भएको छ। देवघाट क्षेत्र विकास समितिका अध्यक्ष अधिकारीका अनुसार यस वर्ष विधिवत्रुपमा मेलाको शुभारम्भ गरिएसँगै बाहिरबाट भक्तजन आउने क्रम सुरु भएको छ।
उनले भने, “विगत तीन वर्ष कोभिडका कारण रोकिएको मेला पुनः सुरु गर्न लागिएको हो।” मेला भर्न पाँच लाख भक्तजन आउने अनुमान समितिले गरेको छ। मेला भर्न आउनेका लागि प्रवेशद्वार रामनगरमा र बाहिरिने आँपटारीबाट बनाइएको छ। मेलाको तयारी तीव्र पारिएको उनले बताए।
प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले माघे सङ्क्रान्ति मेलाको अवसरमा आज र भोलि नारायणगढ मुग्लिन सडकखण्ड नरोकिने जानकारी दिए। पुल निर्माणका लागि भित्तो काट्ने काम भइरहेकाले पुस ५ गतेदेखि दिउँसोमा सवारी रोकी काम गरिँदै आएको थियो। सङ्क्रान्ति मेलाका लागि सडक नरोकिने भएको हो।
आज राति भक्तजन जाग्राम बस्ने प्रचलन छ। शास्त्रानुसार सौरमासको हिसाबले माघे सङ्क्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर सङ्क्रान्ति’ भनिएको हो। आजदेखि सूर्य दक्षिणी गोलाद्र्धबाट उत्तरी गोलाद्र्धतर्फ प्रवेश गर्ने भएकाले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ।
‘भविष्य पुराण’, ‘विष्णुवचन’ तथा ‘धर्मसिन्धु’ नामक ग्रन्थमा यस दिन पवित्र तीर्थस्थलमा स्नान गरी घिउ, चाकु, तिलको लङ्डु, सागपात, तरुल, बस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले खाएमा शरीर पोषिलो हुनाका साथै निरोग भइने जनविश्वास छ। |
बुटवल-नारायणघाट सडकमा कालोपत्रको परीक्षण सुरु कावासोती। निर्माणाधीन पूर्व पश्चिम राजमार्गको नारायणघाट बुटवल सडकखण्डमा कालोपत्रको परीक्षण सुरु गरिएको छ। आयोजनाको पूर्वी खण्डको भेडाबारीमा शुक्रबार एक सय २० मिटर सडकमा अलकत्रा हालेर कालोपत्रको परीक्षण गरिएको आयोजनाका इन्जिनियर राकेश झाले जानकारी दिए।
आयोजना सुरु भएको ४७ महिनापछि कालोपत्रको काम सुरु भएको हो। राजमार्गको मुख्य सडकमा पहिलोपटक परीक्षणका रुपमा सो काम सुरु भएको हो। भेँडाबारी खण्डको यो क्षेत्रमा आउँदो दुई साताभित्र एक किलोमिटर पिच गरिने इन्जिनियर झाले बताए । उनका अनुसार यो सडक १० मिटरभन्दा बढी फराकिलो छ।
क्रसर उद्योगबाट नियमितरुपमा निर्माण सामग्री उपलब्ध भए आगामी असारसम्म १० किलोमिटर सडक कालोपत्र गरिने झाले बताए । राजमार्गमा फिलिङको काम भइरहँदा क्रसर उद्योग बन्द भएका कारण काम अघि बढाउन अप्ठेरो परेको झाले बताए । उनका अनुसार ग्राभेल हालेर पुर्ने काम सकिए पनि माथिल्लो भाग सम्याउन क्रसरका विभिन्न आकारको गिट्टी आवश्यक पर्छ ।
विसं २०७५ माघमा ४२ महिनामा निर्माण सम्पन्न गर्ने गरी सरकार र चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनसँग सम्झौता भएको थियो । सो अवधि गत साउनमा सकिएकाले आगामी साउनसम्मका लागि समय थपिएको हो ।
विसं २०१८ मा तत्कालीन राजा महेन्द्रले गैँडाकोटमा शिलान्यास गरेको झण्डै छ दशकपछि पूर्व–पश्चिम राजमार्गको सो खण्डको विस्तार भएको हो । एशियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा सडक विस्तार भइरहेको छ । निर्माणको लागतमध्ये ८५ प्रतिशत एडिबीले ऋण उपलब्ध गराएको छ भने बाँकी नेपाल सरकारकै लगानी छ । रासस |
अन्तरजातीय विवाह गर्नेलाई १ लाख दिइने सुर्खेत। मुगुको छायाँनाथ रारा नगरपालिकाकाले अन्तरजातीय विवाह गरेमा प्रोत्साहन स्वरुप रु १ लाख दिने भएको छ।
नगरपालिकाको १२औँ विधेयक नगर सभाले जातियविभेदविरुद्ध दलित नीति नियमावली पास गर्नुका साथै उमेर पुगेका युवाहरुले अन्तजातीय विवाह गरेमा उनीहरुलाई प्रोत्साहनस्वरुप एक लाख रकम उपलब्ध गराउने भएको हो।
नगरपालिकाले दलितको हक अधिकारका लागि दलित नीति नियमावली २०७९ सभाबाट पास गरेर दलित छुवाछुत अन्त्यका लागि नीति निमार्ण गरेर सभाबाट बहुमतले पास भएको नगर प्रमुख बिष्णुकुमार भामले बताए।
पिछडिएका दलित समुदायको हक अधिकार लागि नगरपालिकाले बिभिन्न कार्यक्रम सञ्चालन गरेको भन्दै नगर प्रमुख भामले पालिका भित्रका १ देखि १४ वडा सम्मका १३ सय दलित घरधुरी रहेको समेत बताए।
संस्कृति ,बाजा र सीपमुलक आर्यआजनको लागि प्रति घरधुरी पहिलो चरणमा २ हजार ५ सयका दरले दलित भत्ता उपलब्ध गराउने बताएको छ। सो भत्ता अन्तिम पाचँ बर्षको कार्यकालमा ५ हजार सम्म पुर्याउने लक्ष्य रहेको नगर प्रमुखको भामको भनाइ छ।
विधेयक नगरसभाबाट १० वटा बिभिन्नि नीति, नियमावली, कार्यविधि र निर्देशिका बहुमतले पारित गरेको छ। बेरोजगारीको समस्याले चपेटामा परेका युवा कुलतमा फस्दै गहेकाले त्यसको रोकथामका लागि नगरस्तरीय सुधारगृह सञ्चालन कार्यविधि २०७९ समेत पारित भएको छ।
त्यस्तै अपाङ्गता भएका व्यत्तिको हक हितका लागि अपाङ्गता नियमावली २०७९, नगरपालिका स्तरमा नगरपालिकाले नगरबस सञ्चालनमा ल्याउने भएको छ।
नागरिकको हितका लागि अत्यावश्यक भएकाले नगर बस सञ्चालन कार्यविधि २०७९, लगायत व्यवसायिक दर्ता तथा नविकरण कार्यनिर्देशीका २०७९, महिला हेल्प डेक्स कार्यविधि, महिलासँग उप प्रमुख कार्यक्रम सञ्चालन कार्यविधि, खानेपानी तथा सरसफाई निर्देशीका नियमावली र विपत्त जोखिम न्युनिकरण नियमावली २०७९ सभाबाट पारित भएका छन्। |
रेसुङ्गा नगरपालिकाद्वारा पशु बीमा सम्झौता गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका र अजोड इन्स्योरेन्स लिमिटेड गुल्मी शाखाबीच पशु बीमासम्बन्धी सम्झौता गरिएको छ। रेसुङ्गा नगरपालिका पशु विकास शाखाको आर्थिक वर्ष २०७९/०८० को स्वीकृत कार्यक्रमअनुसार नगरपालिकाअन्तर्गत सबै वडामा रहेका पशुहरूको बीमा सम्झौता गरिएको हो ।
रेसुङ्गा नगरपालिकामा रहेका गाई, भैँसी, बाख्रा भेडाहरूको पशु बीमा गरिएको हो । सम्झौताअनुसार प्रति गाईभँैसी बीमाका लागि रेसुङ्गा नगरपालिकाले ५० प्रतिशत बीमा शुल्क उपलब्ध गराउने छ । बाँकी रकम किसान स्वयंले उठाउनुपर्ने सम्झौतामा उल्लेख छ ।
विभिन्न रोग तथा दैवी प्रकोपवाट पशु चौपायाको क्षति हुँदै आएको अवस्थामा कृषकको सहजताका लागि नगरपालिकाले पशु बीमा कार्यक्रम ल्याएको नगरपालिका प्रमुख खिलध्वज पन्थीले बताए ।
सम्झौतापत्रमा अजोड इन्स्योरेन्स लिमिटेड गुल्मीका शाखाका प्रमुख सन्तोष न्यौपाने र रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्याल तथा पशु शाखा प्रमुख रुमाखर मरासिनीले हस्ताक्षर गरेका छन् । नगरपालिकाले सुरु गरेको पशु बिमा कार्यक्रमबाट किसानलाई पनि ठूलो राहत पुग्ने बताइएको छ । |
सेवाप्रवाहमा सुधार गर्न बुटवल उपमहानगरलाई नागरिकको सुझाव बुटवल । स्थानीयवासीले नगरपालिकाबाट हुने सेवा प्रवाहमा सुधार ल्याउन बुटवल उपमहानगरलाई सुझाव दिएका छन् । बुटवल उपमहानगरपालिकाले कार्यसम्पादन र सेवाप्रवाहबारे शुक्रबार आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा नगरबासीले सेवा प्रवाहमा सुधार गर्दै छिटो छरितो काममा जोड दिन आग्रह गरेका हुन् ।
सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीमध्ये ३७ जनाले विभिन्न विषयमा जिज्ञासा राख्दै बुटवल उपमहानगरपालिका र बुटवलका सरकारी कार्यालयहरूको सेवा प्रवाहका बारेमा जिज्ञासा र सुझाव राखेका थिए ।
सुनुवाईमा सहभागीहरुले छाडा चौपाया व्यवस्थापन, बाँदरको आतंक, मुख्य सडक र भित्री सडक निर्माण, १६–३६ कुलोको जग्गा अतिक्रमण, सुकुम्बासी समस्या, फोहोर व्यवस्थापन जस्ता समस्याहरु उठान गरेका छन् । सहभागीहरुले सेवा प्रवाहमा सुधार आएको र त्यसलाई निरन्तरता दिनुपर्ने सुझाव दिए ।
बुटवलमा पछिल्लो समय चोरीका घटनाहरू भइरहेकाले प्रहरीको भूमिका बढाउन सहभागीहरुले आग्रह गरेका थिए । त्यस्तै बुटवलमा इरिक्सा र ठेला व्यवस्थापनले स्वरोजगार मजदुरहरु बेरोजगार हुनुपर्ने अवस्थामा पुगेको भन्दै निर्णय पुनर्विचार गर्न सुझाव दिएका छन् । बुटवलको तिनाउ पश्चिमको क्षेत्रमा कृषि उत्पादन वृद्धिका लागि उपमहानगरले थप ध्यान दिनुपर्ने उनीहरूको भनाई छ ।
कार्यक्रममा उपप्रमुख सावित्रादेवी अर्यालले सार्वजनिक सुनुवाईबाट प्राप्त प्रश्न र सुझावहरुलाई ग्रहण गरी कार्यान्वयन गर्ने प्रतिबद्धता जनाइन् । उनले आफूहरू निर्वाचित भएर आएको ६ महिना मात्रै भएकाले केही योजनाहरू कार्यान्वयनको चरणमा रहेकाले प्रगति विस्तारै देखिदै जाने बताइन् ।
कार्यक्रममा उठेका विषयहरूलाई सम्बोधन गर्दै बुटवल उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले ४ सय १९ वटा प्रश्न र सुझावहरु प्राप्त भएकाले त्यसको कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए । उनले सेवा प्रवाहलाई चुस्त र दुरुस्त राख्न आफूहरूलाई महत्त्वपूर्ण सुझावहरु आएकाले अर्को सार्वजनिक सुनुवाई गर्ने बेलासम्म सुधार गर्ने गरी काम गर्ने बताए । उनले सडक निर्माणलाई तिव्रता दिने, छाडा चौपायाको समस्या, भुस्याहा कुकुर र बादर आतंक नियन्त्रण, बिजुलीको पोलको समस्या, खानेपानी र स्वास्थ्य क्षेत्रका समस्याहरुलाई तत्तकाल सम्बोधन गर्ने बताए ।
कार्यक्रममा उपमहानगरका प्रवक्ता शिव रानाले सेवाप्रवाहलाई चुस्त दुरुस्त बनाउँदै बुटवललाई समृद्ध बनाउनका लागि प्रतिबद्ध रहेको बताए । २०७९ जेठ ९ गते पदभार ग्रहण गरेपछि पहिलो पटक सार्वजनिक सुनुवाई गरिएको बताउँदै यसबाट प्राप्त नागरिकका अभिमतलाई सम्मान गर्दै अघि बढ्ने उनको भनाई छ ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी दानबहादुर थापाले शान्ति सुरक्षासँग जोडिएका विषयमा आफू जिम्मेवार रहेकाले समस्या सम्बोधन गर्ने प्रतिबद्धता जनाए ।
नेपाल पत्रकार महासंघ रुपन्देहीले समन्वय गरेको सार्वजनिक सुनुवाईमा १०४ जना सेवाग्राहीसँग एक्जिटपोल र सिटिजन रिपोर्टसमेत तयार पारेर प्रस्तुत गरिएको थियो । नेपाल पत्रकार महासंघ रुपन्देहीका सचिव विनोद परियारले सेवा प्रवाहमा सुधार गर्नुपर्ने, कर्मचारी र जनप्रतिनिधिहरूले पनि आफूलाई सुधार गर्नुपर्ने प्रतिवेदन प्रस्तुत गरेका थिए । सार्वजनिक सनुवाई कार्यक्रमा वडाअध्यक्ष, कार्यपालिका सदस्य, विभिन्न बिषयगत समितिका संयोजक, विभिन्न नागरिक समाज तथा संघसंस्थाका प्रतिनिधि गरी करिव २ सय जनाको सहभागिता रहेको थियो ।
सार्वजनिक सुनुवाईमा नगरप्रमुख खेलराज पाण्डेय भने अस्वस्थ भएका कारण सहभागी भएनन् । उनको तर्फबाट नगरप्रवक्ता शिव रानाले सम्बोधन वाचन गरेका थिए । सम्बोधनमा प्रमुख पाण्डेयले बुटवललाई समानता, स्वाभिमान र अवसरसहितको बस्नयोग्य शहरका रुपमा स्थापित गर्न आफूहरू प्रतिबद्ध रहेको बताए ।
कार्यक्रममा प्रमुखको तर्फबाट ३५ बुँदे प्रगति विवरण सार्वजनिक गरिएको थियो । सार्वजनिक गरिएको विवरणमा बुटवलमा १६–१६ बेडका दुई अस्पताल निर्माणका क्रममा रहेको, उज्यालो अभियान अन्तर्गत ५२ वटा सडक बत्ती जडानका लागि पहल भइरहेको, पछाडि परेका विद्यालयहरुलाई सुधार गर्न प्रक्रिया शुरु गरिएको, कृषिबजार केन्द्र स्थापनाको प्रक्रिया अघि बढेको जस्ता विषयहरु समेटिएका छन् ।
यस्तै, प्रदेशस्तरको बसपार्क निर्माण, मोतीपूर औद्योगिक क्षेत्रको जग्गाको नापजाँच, बसोबासीको प्रमाणपत्र वितरणजस्ता काम गरेको, ठेला व्यवस्थापन, इरिक्सा व्यवस्थापन तथा नियमन, हाटबजार व्यवस्थापन तथा नियमन, बसपार्क सुधार, बाढी पहिरो नियन्त्रणका प्रयासका बारेमा उल्लेख गरिएको थियो । |
पहिलो पटक सडकको अवस्था बुझ्न सडक डिभिजनको टोली पुग्यो उपल्लो डोल्पा सुर्खेत । भेरी करिडोरभित्र रहेको जाजरकोट दुनै, मरिम तिन्जे धो, लासीक्याप सडक खण्डको काममा गुणस्तर हेर्न सडक डिभिजन चौरजहारीको टिम खटिएको छ ।
यस खण्डको सडकको समाचार प्रकाशित भएपछि डिभिजन प्रमुख आँसुतोष कर्णसहितको टोली स्थलगत अनुगमणमा डोल्पा पुगेको हो । ११८ किलामिटर जाजरकोटबाट दुनै सम्मा सडक भेरी करिडोरभित्र पर्छ । मोरिम्ला नाकादेखि धोसम्मको ६५ किलोमिटर सडक रहेको छ ।
मोरिम्ला नाकादेखि धोसम्मको ६५ किलोमिटर सडक निर्माणको ट्याक ओपनको काम भइसकेको छ । दुनै–ल्यासिक्याप ५५ किलोमिटर रहेको छ । डोल्पाको सदरमुकाम दुनैबाट–ल्यासीक्याप सडकखण्डको निर्माण कार्यसमेत सडक डिभिजन चौरजहारीमार्फत नै भइरहेको छ ।
यो सडक खण्डमा कामको सम्झौता गरेपनि १० महिनादेखि निर्माण व्यवसायीले काम नगरेको भन्दै आलोचना भएपछि सडक डिभिजनको टोली डोल्पा पुगेको हो । २०७८ चैतमा सूर्या श्रेया शान्तिदेबी जेभी निर्माण कम्पनीसँग सम्झौता भएको थियो । यस आयोजनाको कुल लागत १३ करोड ४१ लाख भएको कार्यालयले जनाएको छ। दुनै–ल्यासीक्याप सडकखण्ड काइके गाउँपालिका, डोल्पोबुद्ध गाउँपालिका हुँदै चीनसँगको सीमामा पर्ने मोरिम्ला नाका पुग्न सकिन्छ।
अहिले जाजरकोटको भेरी नगरपालिका –४ पासागाडबाट नलगाड नगरपालिका–१२ को तल्लु सम्मा सडक स्तरोन्नती (पिच) को लागि ठेक्का भएर यति बिल्ड्रसले काम गरिरहेको छ । यो त्रिदेशीय सडक समेत रहेको छ । कर्णाली प्रदेशको हुँदै लम्बिनी प्रदेशको नेपालगन्ज जमुनाह नाँका समेत जोड्ने गर्दछ । भेरी करिडोर निर्माण भएमा भारतको रोपैडियाबाट चिनको तिब्बतसँग यसको सिधा सडक जोडिने छ ।
जाजरकोटदेखि दुनै सम्मा अस्थायी ट्याक नेपाली सेनाले सडक निर्माण गरेको हो । अहिले स्तरोन्नतीको काम सडक डिभिजन चौरजहारीले गरीरहेको छ । रणनीतिक सडक भएकाले कामलाई गती दिन अनुगमणको पाटोलाई कडाइका साथ लिइएको सडक डिभिजन चौरजहारीका प्रमुख आँसुतोष कर्णले बताए ।
चौरजहारीबाट दुनै सम्मा कार्यालयको गाडीमा पुगेको कर्णको टोलीले माथिल्लो डोल्पामा पैदल यात्रा गरेर सडकको अवस्था र कामको प्रगती हेर्न लागेको हो । त्यस्तै भेरी करिडोरमा निर्माणधिण सडकको समेत अनुगमण गरिएको छ । सर्बाधिक समस्यको रूपमा रहेको दुनै देखि लासिक्याप सम्माको सडक निर्माणमा समस्य हुने गरेको छ । हिउँद याममा अत्यधिक चिसोका कारण काम गर्न मुस्किल हुनेगर्छ । |
गृहमन्त्रीको निर्देशनपछि सिराहामा अवैध रूपमा सञ्चालनमा रहेका २३ क्रसर बन्द सिराहा। गृह मन्त्रालयको निर्देशनपछि सिराहामा अवैध रूपमा सञ्चालनमा रहेको क्रसरहरू बन्द गराइको छ।
गत २० पुसमा गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई मापदण्डविपरीतका क्रसर उद्योग बन्द गर्न गरिएको परिपत्रअनुसार जिल्लामा वर्षौदेखि नविकरण तथा मापदण्डविपरित सञ्चालनमा रहेको अवैध क्रसर बन्द गराइएको हो।
मन्त्रालयको परिपत्रको पालना गर्दै नियमविपरीत अवैध रुपमा सञ्चालनमा रहेका क्रसर बन्द गरिएको प्रमुख जिल्ला अधिकारी लालबावु कवाडीले जानकारी दिए।
‘जिल्लामा रहेका २३ वटा क्रसर उद्योगमध्ये करिब सातवटाको नवीकरणको समय अझै बाँकी रहेकाले सञ्चालन हुँदै आएका थिए,’ उनले भने।
तर, अब मापदण्डविपरीत सञ्चालन हुँदै आएका र नवीकरणको समय बाँकी रहेका सबै क्रसर उद्योग, नदीजन्य पदार्थ ढुंगा, गिट्टी, बालुवा उत्खनन्, संकलन र बिक्री वितरणसमेत एक हप्ताका लागि बन्द गरिएको प्रमुख जिल्ला अधिकारी कवाडीले बताए।
बिहीबार बसेको जिल्ला अनुगमन समितिको बैठकले ‘ढुंगा,गिट्टी र वालुवा उत्खनन्, बिक्री वितरण तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७ र वालुवा गिट्टी उत्खनन्, संकलन, क्रसिङ तथा बिक्री वितरण र क्रसर उद्योग स्थापना वा सञ्चालनलाई व्यवस्थित गर्ने कार्यविधि २०७५ बमोजिम नवीकरण भएका तथा सञ्चालनमा रहेका क्रसर उद्योगसमेत बन्द गर्ने निर्णय गरिएको जिल्ला समन्वय समितिका उपप्रमुख दिलीपकुमार लामाले बताए।
दर्ता भई नवीकरण भएका एवं सञ्चालनमा रहेका उद्योगहरुको हकमा समेत हाललाई बन्द गरी ती उद्योगहरू नियामानुसार सञ्चालन भएको नभएको सम्बन्धमा स्थलगत अनुगमनपश्चात मात्र आवश्यक निर्णय गरिने बैठकले निर्णय गरेको उपप्रमुख लामाले बताए।
कर्जन्हा नगरपालिका-२ स्थित श्री जगदम्वा ढुंगा क्रसिङ उद्योग, वडहारामाल ४ को जानकी क्रसर उद्योग, कमलेश्वरी बालुवा प्रशोधन उद्योग, सांग्रिला गिटी बालुवा प्रशोधन केन्द्र, जयकाली ढुंगा क्रसिङ उद्योग, हिमाल क्रसिङ उद्योग, बस्तीपुर ९, माँ सन्तोषी क्रसिङ उद्योग, आसोपुर वलकवा ८, स्वेच्छा बालुवा प्रशोधन उद्योग, एस एन्ड सन्स कंक्रिट उद्योग, कमलामाई क्रसर उद्योगलगायत मापदण्डविपरीत अवैध रुपमा सञ्चालित २३ वटा क्रसर उद्योग बन्द गराइएका हुन्। |
मध्यपहाडी लोकमार्ग विस्तारले घरबारविहीन हुने भन्दै आन्दोलन तेह्रथुम। तेह्रथुमको लालीगुराँस नगरपालिकामा रहेको वसन्तपुर बजारमा मध्यपहाडी लोकमार्ग विस्तार गर्दा घर घडेरी क्षति हुँदा उठीबास हुने भन्दै बजारबासीले विरोध गर्दै आन्दोलन गरेका छन्। पुष्पलाल (मध्यपहाडी लोकमार्ग) विस्तार गर्दा आफूहरूको उठीबास हुने भन्दै बसन्तपुर बजारबासीले आन्दोलन गरेर विरोध जनाएका हुन्।
बीच बजारबाट लोकमार्ग निर्माण हुँदा आफूहरुले बसोबास गरिरहेको घरघडेरीमा क्षति पुग्ने भन्दै बजारबासीले लोकमार्ग अन्यत्रबाट लैजान माग गर्दै आन्दोलन गरेका हुन्।
नेपाल भारत सीमा पाँचथरको चियोभञ्ज्याङदेखि बैतडीको झुलाघाट जोड्ने पहाडैपहाड भएर निर्माण भइरहेको राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग निर्माणको काम म्याङलुङ हुँदै बसन्तपुर बजारसम्म आइपुगेको छ।
बजार क्षेत्र प्रवेश गर्ने चरणमा रहेको लोकमार्गको सर्भेको काम सम्पन्न भएर प्रारम्भिक वातावरणीय अध्ययनको काम सुरु गर्ने तयारी भइरहेका बेला केही बजारबासीले विरोध जनाएर प्रदर्शन गरेका हुन्।
बीच बजारबाट लोकमार्ग निर्माण हुँदा यसअघि निर्माण भइसकेका घर भत्काउनुपर्ने अवस्था आउने र आफूहरु घरवारविहीन हुने भन्दै बजारबासीले लोकमार्ग निर्माणस्थलको विकल्प खोजी गर्नुपर्ने स्थानीय कृष्ण बस्नेतले बताए।
बीच बजारबाट लोकमार्ग निर्माण हुँदा मुख्य चोकको घर भत्काउनुपर्ने र आफूहरुको धेरै नोक्सान हुने विरोधमा उत्रिएका स्थानीय चुडामणि अधिकारीले बताए।
लोकमार्ग बजार क्षेत्रभन्दा दायाँबायाँ गरेर निर्माण गर्नुपर्ने माग आफूहरुको रहेको अधिकारीको भनाइ छ। बीच बजारबाट लोकमार्ग विस्तार भएर बजार क्षेत्रका एक सय बढी घरको अगाडिको भाग काट्नुपर्ने विरोधमा उत्रिएका स्थानीयको दाबी छ।
बजारबासीले लोकमार्ग विस्तार गर्दा बजार क्षेत्रका घरमा क्षति नपुर्याई विस्तार गर्नुपर्ने वा हाल कायम रहेको सडकलाई नै प्रयोगमा ल्याउनुपर्ने आफूहरुको माग रहेको उद्योग वणिज्य संघ उपशाखाका अध्यक्षसमेत रहेको स्थानीय रोशन सुवेदीले वताए।
बजार क्षेत्रभित्र कति मिटर सडक कायम हुने भन्ने आधिकारिक जानकारीसमेत आफूहरुलाई लोकमार्ग आयोजना पक्षले नदिएको स्थानीयको महेन्द्र गुरुङको भनाइ छ।
पुष्पलाल (मध्यपहाडी लोकमार्ग) योजना कार्यालय पाँचथरले भने यसअघि नै सम्वन्धित क्षेत्रका प्रभावित बासिन्दा र जनप्रतिनिधिसँग पटकपटक छलफल गरेर काम अघि बढाएको जनाएको छ।
योजना प्रमुख अर्जुनकुमार बमले बजार क्षेत्रको छोटो दूरीमा मात्र केही घरमा न्यून क्षति पुग्ने र त्यसका लागि योजना कार्यालयले क्षतिपूर्तिको व्यवस्था पनि गरेको बताए।
योजना प्रमुख बमका अनुसार बजार क्षेत्रमा ११ देखि १२ मिटरको चौडा सडक हुनेछ। यसअघि वजार क्षेत्रमा निर्माण भएको अधिकांश सडक ९ देखी १० मिटरसम्मको रहेको र थोरै मात्र सडक विस्तार गर्दा हालका लागि सडक पुग्ने योजना प्रमुख बमले बताए। स्थानीयको मागअनुसार लोकमार्ग अन्यत्र स्थानबाट लैजान सम्भव नहुने र बीच बजारबाटै जाने बमको भनाइ छ।
बसन्तपुर सरकारले पहाडबाट तराई र सुविधा सम्पन्न स्थानमा हुने बसाई सराई रोक्ने उद्देश्यले घोषणा गरेको नयाँ सहरसमेत हो। बसन्तपुरमै नयाँ सहर आयोजना कार्यालय स्थापना भएर पूर्वाधार निर्माणको कामसमेत भइरहेको छ ।
लोकमार्ग योजना कार्यालयले बजार र सडक चौडा हुने स्थानको प्रारम्भिक वातावरणीय अध्ययनका लागि फिल्ड सर्भेको कामसमेत थालेको छ। योजना कार्यालयले त्यसका लागि छिन्नमस्ता मल्टी इन्जिनियरिङ सोलुसन प्रालिसँग सम्झौता गरेको छ। प्रालिले बिहीबारबाट काम पनि सुरु गरेको प्रतिनिधि चिरञ्जिवी काफ्लेले बताए। |
पाठेघरसम्वन्धी समस्य लुकाएर बस्दै मुगुका महिला सुर्खेत। उमेर नपुग्दै विवाह गरी सुत्केरी हुँदा मुगुका महिलाहरुमा पाठेघर खस्ने समस्य देखिएको छ। सुत्केरी तथा गर्भवती अवस्थामा पोशिलो खाना , भार बढी हुने काम गर्दा स्वास्थ्यमा समस्य आएको हो।
स्वास्थ्य सेवा कार्यालयले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७८/७९ मा छायाँनाथ रारा नगरपालिकामा पहिलो, दोस्रो र तेस्रो चरणमा जाँच गर्दा २५ जना महिला पाठेघर खस्ने समस्याबाट पीडित भएको पाइएको छ ।
सदरमुकाम रहेको पालिका भित्र पाठेघर धेरै समस्य भएका महिलाहरुको उमेर कम रहेको पाइएको छ । सदरमुकाम स्वास्थ्य सेवा कार्यालय सम्मा पहुँच भएको पालिका हो । अन्य पालिका सदरमुकाममा रहेको स्वास्थ्य संस्थासँग पहुँच नभएका कारण त्यहाँ संख्य भारी भएको अनुमान लगाएको छ ।
स्वास्थ्य सेवा र्काालय मुगुकी सिनियर अनमी रामदेवी केसी सोरु गाउँपालिका, खत्याड गाउँपालिका र मुगमकार्मारोङ गाउँपालिकाको स्वास्थ्य कार्यालयबाट पाठेघर खस्नेबाट पीडित भएका महिलाको विवरण आउन बाँकी रहेको बताइन् ।
पाठेघर खसेका वा समस्यमा परेका महिलाहरुले सेवा लिनका लागि लाज मान्ने , नखुल्ने भएका कारण वषौँ देखि समस्या लुकाएर बसिरहेको उनले बताइन् ।
सोरु गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख चरित्र धामीले दिएको जानकारी अनुसार पाठेघरसम्बन्धी स्क्रिनिङ जाँच गर्दा हालसम्म ३६ महिलामा पाठेघरसम्बन्धी समस्या भएको पाइएको छ । खत्याड गाउँपालिका र मुगमकार्मारोङ गाउँपालिकामा पाठेघरसम्बन्धी पीडित महिलाको संख्य धेरै भएपनि पीडित खुल्न नसकेको बताइएको छ ।
डा। मीना हमाल ९चौलागाईं०ले उमेर नपुग्दै विहे तथा सुत्केरी हुँदा दुर्गम जिल्लामा अत्यधिक महिलाहरुमा समस्य देखिएको बताइन् । शिक्षा तथा पारिवारिक दबाबका कारण समस्य लुकाएर बस्न बाध्य भएको उनको भनाई छ । पाठेघरमा ‘रिङ पे्रसरी’को माध्यमबाट वैकल्पिक सामान्य उपचार दिँदै आएको समेत उनको भनाइ छ । |
टिकटकमार्फत पनि जुवा… काठमाडाैं। काठमाडौँ उपत्यकामा जुवाडेहरूले प्रहरीको आँखा छल्ने उद्देश्यले विभिन्न तरिका अपनाएर जुवा खेल्ने र खेलाउने गरेका छन्।
यही सिलसिलामा पछिल्लो समयमा भने टिकटक लाइभमार्फत पनि जुवा खेल्ने गरेको पत्ता लागेको छ।
टिकटक भनेको मानिसले सामान्य आफ्नो रमाइलोका लागि साना-साना भिडियो तयार पारी हाल्ने एक प्रकारको सामाजिक सञ्जाल हो। रमाइलोका लागि त्यस्ता भिडियो राखिन्छ तर त्यही सामाजिक सञ्जालको दुरुपयोग गरी टिकटक लाइभबाट जुवा खेलाउने गरेको पाइएको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा उपत्यकाभित्र केही व्यक्तिले ई-सेवालगायत अन्य डिजिटल वालेटमा विभिन्न व्यक्तिमार्फत रकम जम्मा गराइ लाभ लिने उद्देश्यले टिकटकमार्फत रकमको बाजी राखी जुवा, तास खेलाउने गरेको सूचना आयो। उक्त सूचनाका आधारमा कार्यालयले तत्काल टोली बनाइ ती गतिविधिको निगरानी थाल्यो।
प्रहरीको अनुसन्धान टोलीले उपत्यकाको ग्वार्काे, सूर्यविनायक, लोकन्थलीलगायत स्थानमा खोजी अभियान चलाउँदा टिकटक लाइभमार्फत जुवा खेल्दै र खेलाउँदै गरेको अवस्थामा चार जनालाई फेला पारिएको कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइराला बताउँछन्।
प्रहरीले जुवा खेलेको अवस्थामा दाङ घर भइ ग्वार्काे बस्ने ऋषिप्रकाश योगी, भक्तपुरको सूर्यविनायक बस्ने कपिल गिरी, भक्तपुरको थिमि बस्ने प्रेम कठाडत र कैलालीका डिल्लीराज अवस्थीलाई रङ्गेहात फेला पारी पक्राउ गरेर कारबाही थालेको छ।
उनीहरूलाई मुलुकी अपराध संहिता २०७४ को दफा १२५ को उपदफा १ बमोजिम जुवा कसुरमा आवश्यक कारबाहीका लागि ललितपुर र भक्तपुरका सम्बन्धित प्रहरीमा बुझाइएको छ।
पक्राउ परेका मध्ये योगीले पब्जी र पब्जी-२ नामक टिकटक बनाइ दुई ई-सेवा वालेटमा विभिन्न व्यक्तिलाई रकम जम्मा गर्न लगाएर एक महिना १० दिनको अवधिमा जुवा खेलाएर रु २८ लाख ७३ हजार कारोबार गरेको पाइएको छ।
यस्तै गिरीले पोकर किङ नामक टिकटक खोली ३ ई-सेवा वालेटमा १० दिनको अवधिमा रु ५३ हजार रकम कारोबार गरेका छन् भने कडायत र अवस्थीले प्रेम नामक टिकटकमार्फत ई-सेवा वालेटमा एक महिना छ दिनको अवधिमा जुवा खेलाएर रु ९३ हजार कारोबार गरेको पाइएको छ।
चारैजनाको साथबाट टिकटक लाइभ जुवा, तास खेल्न खेलाउन प्रयोग गरेका मोबाइल, विभिन्न व्यक्तिका नाम र रकम उल्लेख भएको रजिष्टर, जुवा खेलाउन प्रयोग भएको ३२ बुक तासलगायत बरामद गरेको प्रहरी उपरीक्षक कोइरालाले जानकारी दिए। |
‘कर्णाली समृद्धिको अभियान’ थाल्छौँः मुख्यमन्त्री शर्मा सुर्खेत । कर्णाली प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्माले ‘कर्णाली समृद्धिको अभियान’ थाल्ने बताएका छन् ।
मुख्यमन्त्रीको पदबहाली गर्दै उनले सुख र खुसी प्राप्त गर्नुपर्ने दुई अभिभारा काँधमा आएको बताए । उनले भने, “सुखी हाम्रो आर्थिक सम्पन्नता र खुसी सामाजिक न्यायसँग जोडिएको छ ।” भौगोलिक विकटता भएको कर्णालीको ठूलो शत्रु नै गरिबी भएको र त्यसको अन्त्यका लागि रोजगार र रोजगारसँगै स्वरोजगार सिर्जना गर्ने उनले बताए।
मुख्यमन्त्री शर्माका अनुसार कर्णाली समृद्धिको अभियान पूरा गर्न प्रतिवर्ष १० हजार बेरोजगारलाई रोजगारी प्रदान गर्न नीति निर्माण, बजेट तर्जुमाका साथै कार्यविधि बनाएर अगाडि बढिनेछ । कर्णालीमा बजेट अभाव र प्रभावकारी कार्यान्वयन नै समस्या भएकाले त्यसको समाधानका लागि संयन्त्र निर्माण गरी कार्यसम्पादनमा जोड दिइने उनको भनाइ छ ।
कर्णालीमा कर्मचारी दण्ड भोग्न आएको महसुस गर्ने मानसिकताको अन्त्य गर्न र उनीहरूको मनोबल बढाएर काम गर्ने वातावरण कसरी बनाउन सक्नुहुन्छ भन्ने पत्रकारको प्रश्नमा मुख्यमन्त्री शर्माले भने, “सङ्घीय प्रणालीमा पनि जनप्रतिनिधि र कर्मचारी सबैले जनताकै काम गर्नुपर्ने हुन्छ । यहाँ कर्मचारीलाई दण्ड नभई कर्णाली जान होडबाजी गर्ने प्रदेश बनाइनेछ ।”
अब निकट केही दिनमै प्रदेश सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाउने भन्दै उहाँले विना विभागीय मन्त्रीका रूपमा नियुक्त गर्नुभएका मन्त्रीद्वय मङ्गलबहादुर शाही र विनोदकुमार शाहलाई छिट्टै जिम्मेवारी दिइने जनाए । शाही नेकपा (माओवादी केन्द्र) मुगु (२) र शाह नेकपा (एमाले) दैलेख क्षेत्र नं २ (२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।
मुख्यमन्त्री शर्माका अनुसार केन्द्रको निर्णयलाई न तोडी बरु सबैका भावनालाई जोडेर संसद् र सरकारलाई व्यवस्थित बनाउँदै प्रदेश निर्माणको यात्रा प्रारम्भ गरिएको छ । यसमा सबैको साथ सहयोग लिएर कर्णालीवासीको हितमा काम गरिने उनले बताए । |
साढे २ वर्षपछि गण्डकीमा मुख्यमन्त्री पाउने माओवादीको दाबी पोखरा । गण्डकीमा माओवादीले पनि मुख्यमन्त्री दाबी गरेको छ । दलका नेता हरिबहादुर चुमानले साढे २ वर्षपछि मुख्यमन्त्री बन्ने दाबी गरेका हुन् । सुरुमा पनि मुख्यमन्त्री दावी गरेको चुमान अन्ततः मन्त्री मात्रै बनेर सरकारमा गएका छन् । उनले मुख्यमन्त्री खगराज अधिकारीसँगै विना विभागीय मन्त्रीको रुपमा सोमबार सपथ लिएका हुन् ।
चुमानले २ वर्षपछि मुख्यमन्त्री बन्ने तयारीका साथ सरकारमा गएको बताएका छन् । ‘पहिलो पटक एमालेका संसदीय दलका नेतालाई दिने भन्ने निर्णय आएपछि खगराज जी मुख्यमन्त्री बन्नुभएको हो,’ उनले भने, ‘यो भनेकै आलोपालोको कुरा हो । त्यही कुरा आएको छ, अहिले अझै स्पष्ट भएर आएको छ । नेतृत्वले पनि केन्द्रमा आलोपालो भन्ने मानसिकता बनाएको छ ।’
चुमानले सरकारलाई सफल बनाउनका लागि दलको नेता जानुपर्छ भनेर आफु सरकारमा गएको दावी गरे । ‘म सरकारमा जाँदा भोली माओवादीलाई पालो आउँदा मुख्यमन्त्री बन्न कुनै बाधा हुँदैन । हाम्रो नेतृत्वसँग सम्पर्क गरिरहेका छौं । उहाँले आलोपालो होइन भन्नुभएको छैन,’ उनी भन्छन्, ‘अरु पनि प्रदेशमा आलोपालोको कुरा भैरहेको छ । त्यसले गर्दा गण्डकीमा पनि आलोपालो स्वभाविक हो ।’
चुमानले मुख्यमन्त्रीपछिको प्रमुख मन्त्रालय आफुले पाउने बताएका छन् । ‘हामी संयुक्त मोर्चामा रहेका दलहरुबीच छलफल हुने र नेताहरुले टुंग्याउने कुरा हो । मुख्यमन्त्री पछिको दोश्रो मन्त्रालय स्वभाविक रुपमा हाम्रो भागमा पर्छ,’ चुमान थप्छन्, ‘अहिले १२ मन्त्रालय छ, त्यो घट्दै छ । कति मन्त्रालय बन्छ र संरचना के हुन्छ भन्ने टुंगिएको छैन । तर दोश्रो मन्त्रालय माओवादीको भागमा पर्छ ।’ उनका अनुसार अर्थ वा भौतिक मध्ये १ मन्त्रालय रोजेर माओवादीले पाउने छ । |
सुदूरपश्चिम प्रदेशसभामा बहुमत सदस्य नपुग्दा सभामुख निर्वाचित हुन सकेन कैलाली । सुदूरपश्चिम प्रदेशसभाको आज साँझ बसेको बैठकमा ‘प्रदेशसभाको सभामुख पदमा निर्वाचित गरियोस्’ भन्ने दुई छुट्टाछुट्टै प्रस्तावमा बहुमत सदस्य सङ्ख्या नपुग्दा अस्वीकृत भएको छ ।
प्रदेशसभा सदस्य मानबहादुर रावललाई सभामुख पदमा निर्वाचित गरियोस् भनी नेपाली कांग्रेसका मेघराज खड्काले पेस गरेको प्रस्तावमा गरिएको मत विभाजन ‘हुन्न’ भन्ने पक्षमा २६ मत पाउँदा ‘हुन्छ’ भन्ने पक्षमा २३ मत परेको थियो । उनको समर्थकमा पृथ्वीबहादुर सिंह थिए ।
यसैगरी प्रदेशसभा सदस्य भीमबहादुर भण्डारीलाई सभामुख पदमा निर्वाचित गरियोस् भनी नेकपा एमालेकी जानकी ऐर बमले राखेको अर्को प्रस्तावमा भएको मत विभाजनमा ‘हुन्छ’ भन्ने पक्षमा २६ र ‘हुन्न’ भन्ने पक्षमा २३ मत परेको थियो । उनको समर्थकमा माओवादी केन्द्रकी गीतादेवी माल थिइन् ।
मत विभाजनमा ५० जनाले भाग लिएकामा एक जनाको मत बदर भएको थियो । सभामुखमा निर्वाचित हुनका लागि २७ सदस्यको बहुमत आवश्यक पर्छ । त्रिपन्न सदस्यीय प्रदेशसभामा मत विभाजनको प्रक्रियाद्वारा सभामुखको निर्वाचन सुरु हुँदा नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरी र सत्तापक्ष एमालेका चक्रबहादुर मल्ल अनुपस्थित रहेका थिए।
सभामुखको भूमिकामा रहेका शिवराज भट्टले मत विभाजनमा भाग लिएनन् । सभामुखको भूमिकामा रहनुभएका भट्टले आवश्यक बहुमत सदस्य सङ्ख्या नपुग्दा दुवै प्रस्ताव अस्वीकृत भएको सदनलाई जानकारी गराए ।
सभामुखको उम्मेदवारी दर्ता गराएका भण्डारी नेकपा(माओवादी केन्द्र)का तर्फबाट र अर्का उम्मेदवार रावल नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार थिए। भण्डारीका पक्षमा एमाले, माओवादी केन्द्र, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका सदस्य रहेका थिए । रावलका पक्षमा कांग्रेस, एकीकृत समाजवादी र एक जना स्वतन्त्र सदस्य हुनुहुन्थ्यो । प्रदेशसभामा कांग्रेसका १९, नेकपा एमालेका १०, नेकपा माओवादी केन्द्रका ११, नेकपा एकीकृत समाजवादीका चार, राप्रपाका एक र एक जना स्वतन्त्र सदस्य छन्। |
गृहमन्त्रीद्वारा ‘मेड इन नेपाल एक्स्पो’को निरीक्षण भरतपुर । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले ‘मेड इन नेपाल एक्स्पो २०७९’को निरीक्षण गरेका छन् । चौधौँ चितवन महोत्सव परिसरमा आयोजना गरिएको एक्स्पोको निरीक्षण गरी गृहमन्त्री लामिछानेले नवउद्यमीलाई हौसला प्रदान गरेका हुन् ।
“देशका युवा यही रहनुपर्छ भनेर सरकारले न्यूनतम साझा कार्यक्रममा स्टार्टअपका लागि विशेष कार्यक्रम ल्याउन लागेको छ”, उनले भने, “देशमा उद्योग खोल्न सक्यो भने र नवउद्यमीले केही अनुसन्धान गर्न सक्यो भने मात्र मुलुकको उन्नति हुन्छ ।”
सरकारले नेपालमै बनेका वस्तुका लागि विशेष व्यवस्था गरोस् भनेर पहल गरिरहेको उनले बताए । “आफ्नै देश स्वावलम्बन हुनुपर्छ, यहीको उत्पादन प्रयोग गर्नुपर्छ । मैले आफूले नेपालमै बनेको लुगा लगाउने जानकारी गराएकै छु”, नयाँ उत्पादनका विषयमा छलफल गर्न युवा उद्यमीलाई आग्रह गर्दै उनले त्यसमा काम गर्न गृहमन्त्रालयको ढोका सदैव खुला रहने बताए। प्रविधिको अनुसन्धान गर्न गृहमन्त्रालयले उद्यमीलाई सधैँ सहयोग गर्ने उनले बताए । |
एक महिनादेखि कृषि कार्यालय मुगु प्रमुखविहीन मुगु । मुगु जिल्लामा रहको एक सरकारी कार्यालय विगत एक महिनादेखि कार्यालय प्रमुखविहीन रहेको छ । कर्णाली प्रदेश सरकारअन्तर्गत रहेको कृषि विकास कार्यालय मुगुमा विगत एक महिना बढीदेखि कार्यालय प्रमुखविहीन भएको हो ।
यहि मंसिर १२ गते खेमराज शाही सरुवा भई संघीय मन्त्रालयमा गई र काजमा जुम्ला फर्किएपछि अहिले कृषि विकास कार्यालय मुगु प्रमुखविहीन रहेको कृषि विकास कार्यालय मुगुले जनाएको छ ।
कार्यालयमा प्रमुखविहीन भएको आज ठ्याक्कै ४८ दिन पुगेको छ । कार्यालयले दिएको जानकारी अनुसार मन्त्रालयले हालसम्म कुनै पनि कार्यालय प्रमुख पठाउने चाँसो देखाएको छैन । कार्यालय प्रमुख नहुँदा विभिन्न प्रकारका कार्य सम्पादन गर्न असहज बातावरण भएको जनाइएको हो ।
कार्यालय प्रमुख नहुँदा विशेष गरेर प्रशासनिक, आर्थिक कारोवार तथा अन्य कार्य सम्पादनमा समेत समस्या भएको कृषि विकास कार्यालय मुगुका अधिकृत हिक्मत राज गिरीले बताए । उनका अनुसार निवर्तमान कार्यालय प्रमुख शाहीले रमना बुझि गए पश्चात हाल आफूले कार्यभार सम्हालेको बताए ।
हाल यस कार्यालयका कर्मचारीले स्थलगत रूपमा अगाडी भएका योजनाको फिल्ड भेरिकेसन गर्ने कार्यमात्र गरिरहेको सूचना अधिकारी टेकबहादुर खत्रीले जानकारी दिए ।
कृषि विकास कार्यालय मुगुमा कार्यालय प्रमुखमात्र होइन योजना शाखा पनि प्रमुखविहीन भएको छ । विशेष गरेर अन्य शाखा भन्दा योजना शाखा अति आवश्यक शाखा हो । तर शाखामा कर्मचारी नुहँदा योजना छनौट, विनियोजनमा पनि थप समस्या उत्पन्न भएको सूचना अधिकारी खत्रिको भनाई छ । कार्यालयमा तीन वटा अधिकृतको कोटा खालि रहेको छ ।
यस कार्यालयको कार्य सम्पादनमा भएको समस्यालाई मध्येनजर गर्दे मन्त्रालयमा जानकारी गराउँदा कुनै पनि सुनुवाई नगरेको कार्यालयले जानकारी दिएको छ ।
कार्यालयमा हाल एक वडा एक प्राविधिक, एक जना सवइन्जिनियर र एक जना असिस्ट्रेन्ट इन्जिनियर करार कर्मचारी रहेका छन् । कार्यालयले गत वर्ष योजनाको कार्यान्वयन नगरि ६६ वटा योजना फिर्ता पठाएको थियो । कार्यालयले समय अभावका कारण ६६ वटा योजना फिर्ता पठाएको थियो । |
ठेक्का ओगटेर काम नगर्ने प्रवृत्ति विकासको बाधक : अध्यक्ष तिमिल्सिना काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ठेक्का ओगटेर काम नगर्ने प्रवृत्ति विकासको बाधक बनेको बताएका छन् । बेनीमा आजदेखि सुरु भएको सातौँ म्याग्दी महोत्सव तथा प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेलाको उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले जनताको समृद्धिको चाहना पूरा गर्न कानुन संशोधन गरेर विकासमैत्री वातावरण बनाउन पहल गरिएको बताए ।
“बजेट नभएरभन्दा पनि ठेक्का लिएका व्यवसायीले जिम्मेवार भएर काम नगर्दा धेरै योजनाहरु अलपत्र बनेका पाइएको छ”, उनले भने, “ठेक्का लिएकाले काम नगर्ने, त्यसलाई हटाउन खोज्दा अदालत गएर अल्झाउने र अलपत्र बनाउने प्रवृत्तिको अन्त्य गर्न कानुन संशोधनमा पहल गरेका छौँ ।”
चीनको सिमाना कोरला नाका जोड्ने कालीगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम–कोरला सडक आयोजनाको स्थलगत निरीक्षण गरी ढिलासुस्तीका विषयमा सरकारको ध्यानाकर्षण गराएको अध्यक्ष तिमिल्सिनाले बताए ।
विसं २०७३ देखि सुरु भएको २०० किलोमिटर सडक कालोपत्र गर्ने योजना विसं २०७६ मा सकिनुपर्नेमा अझै पूरा भएको छैन । दुई हप्ताअघि सो सडकको निरीक्षण गरेर फर्किएका तिमिल्सिनाले भन्सारलगायतका पूर्वाधार र सडक निर्माणलाई पूर्णता दिएर कोरला नाका सञ्चालनको वातावरण बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को ध्यानाकर्षण गराएको बताए ।
“कोरला नाका सञ्चालन गर्नसकेमा कालीगण्डकी करिडोर चीन, नेपाल र भारतको त्रिदेशीय व्यापारिक मार्ग बन्ने सम्भावना छ”, उनले भने, “प्राकृतिक स्रोतसाधनको परिचालन गरेर समृद्धि हासिल गर्न नीतिगत सुधारका लागि हामी प्रतिबद्ध छौँ ।”
म्याग्दी, रघुगङ्गा करिडोरमा सडक पूर्वाधार, जडीबुटी, कृषि र पर्यटनमार्फत म्याग्दीलाई समृद्ध बनाउन सकिने अध्यक्ष तिमिल्सिनाको भनाइ थियो । उनले बेनीदेखि पर्वतको बगरफाँट जोड्ने पक्की मोटरेबल पुल निर्माण नहुँदासम्मका लागि कालीगण्डकीमा बेलिब्रिज बनाउन ठेक्का प्रक्रिया अघि बढेको जानकारी दिए ।
कार्यक्रममा संविधानसभा सदस्य गोविन्द पौडेल, नवराज शर्मा, रेशमबहादुर बानियाँ, प्रदेशसभा सदस्य विमला गौचन, बेनी नगरपालिकाका प्रमुख सुरत केसी, रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी, म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष बेलबहादुर कटुवाल लगायतले म्याग्दीका विकास आयोजना निर्माणमा भएको ढिलासुस्तीका विषयमा राष्ट्रियसभाका अध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराएका थिए । |
गण्डकीमा शनिबार सभामुखको निर्वाचन हुने पोखरा । गण्डकी प्रदेशमा सभामुखको निर्वाचन पुस ३० गते शनिबार हुने भएको छ । संविधान अनुसार पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख चयन गरिसक्नुपर्ने व्यवस्था छ । १८ गते गण्डकीमा पहिलो बैठक बसेको थियो ।
त्यसैले बढीमा माघ २ गतेभित्र सभामुख निर्वाचित भैसक्नुपर्छ । विहिबार सर्वदलीय बैठक बसेर ३० गते नै सभामुखको निर्वाचन गर्ने र २ गते उपसभामुखको निर्वाचन हुने निर्णय गरिएको हो ।
सत्तारुढ दलको शीर्ष निर्णय अनुसार गण्डकीमा माओवादीले पाँचै वर्ष सभामुख पाउने छ भने उपसभामुख एमालेको भागमा परेको छ । माओवादीले कृष्ण धिताललाई सभामुखमा अघि सारेको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुख र उपसभामुखमा उम्मेद्वार उठाउने वा नउठाउने निर्णय गरिसकेको छैन । दलको बैठक शुक्रबार बसेर यसबारे निर्णय लिने संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले जानकारी दिए । |
सुर्खेतमा ३५० जनाले पाए लालपुर्जा हेमन्त केसी
सुर्खेत । सुर्खेतमा ३५० परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ। आयोगले जिल्लाका नौवटा पालिकामध्ये पाँचवटा पालिकामा लालपुर्जा वितरण सुरु गरिसकेको गरेको बताएको छ ।
भूमिसम्बन्धी समस्या समाधान आयोग जिल्ला समितिका अनुसार कोट माझखर्कअन्तर्गतका र तत्कालीन राप्ती बसोबास आयोगले नापजाँच गरेका जग्गाको लालपुर्जा उपलब्ध गराएको हो । गुर्भाकोट, भेरीगङ्गा, चौकुने र पञ्चपुरी गाउँपालिकामा केही परिवारलाई जग्गाधनी पुर्जा दिइएको बताए । पाँच सय परिवारको लालपुर्जा तयारी अवस्थामा भए पनि कतिपयले राज्यलाई दिनुपर्ने १० प्रतिशत राजस्व तिर्न नसकेका कारण पुर्जा पाउन सकेका छैनन् । विभिन्न पालिकामा गरी त्यस्तो सङ्ख्या १५० छ। उनीहरू भारत तथा बाहिर भएकाले पनि लालपुर्जा नलिएको हुन् ।
वीरेन्द्रनगर र लेकबेँसी, सिम्ता र चिङ्गाड गाउँपालिकामा लालपुर्जा वितरणको काम हुन सकेको छैन । वीरेन्द्रनगर नगरपालिकाले नगर उपप्रमुख नीलकण्ठ खनालले जग्गा नापजाँचका लागि प्रक्रिया सुरु बताए । केही पालिकामा कित्ताकाट रोकिएकाले पनि लालपुर्जा वितरणको कार्य अघि बढ्न सकेको हो ।
लेकबेँसी नगरपालिकाले भूउपयोग नीति बनाएर जग्गाको वर्गीकरण गरेपछि मात्रै प्रक्रिया अघि बढ्ने जनाएको छ। नगरप्रमुख उमेशकुमार पौडेलले अब तत्काल भूउपयोग नीति बनाएर प्रक्रिया थालिने बताए ।
सिम्ता गाउँपालिकामा पनि भूउपयोग नीति बनाइँदै गरेको प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले बताए । भूउपयोग नीति बनाउँदै गरेकाले यसको टुङ्गो लगाएपछि मात्रै थप काम अघि बढ्ने छ । चिङ्गाड गाउँपालिकामा तथ्याङ्क सङ्कलनमै ढिलाइ भइरहेको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनकबहादुर हमालले निवेदन लिन छुटेकालाई फेरि सूचना जारी गरेर लगत सङ्कलन गर्नुपर्ने माग आएपछि आयोगले निर्णय गरेको जानकारी दिए । चिङ्गाड गाउँपालिकाले पनि भूउपयोग नीति बनाएको छैन ।
अव्यवस्थित बसोबास, भूमिहीन दलित र सुकुम्बासीका गरी झन्डै ४८ हजार निवेदन सङ्कलन भएका थिए। तीमध्ये ४२ हजार आवेदन अव्यवस्थित बसोबासीका थिए । |
४७ फिट अग्लो त्रिशूल स्थापना अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क–२ घोचेखोलामा रहेको शिव मन्दिरमा ठूलो त्रिशुल स्थापना गरिएको छ ।
सन्धिखर्क–२ शिवालय क्षेत्रमा रहेको शिव मन्दिरमा ४७ फिट अग्लो त्रिशूल आज वैदिक विधिपूर्वक पूजाआजा गरी स्थापना गरिएको हो । धार्मिक पर्यटक भित्र्याउने उद्येश्यले पण्डित केशवराज आचार्यले वैदिक विधिपूर्वक पूजाआजा गरी त्रिशूल स्थापना गरिएको स्थानीय रामु केसीले बताए । सन्धिखर्कबाट नजिकै प्राकृतिक मनोरम वातावरणमा रहेको यस शिवालय क्षेत्रमा शिव भगवानको मन्दिरसमेत रहेको छ । यस स्थानमा शिवरात्रिको दिन विशेष पूजाआजा तथा दैनिक पूजा हँुदै आएको छ । दाङमा रहेको त्रिशूल साढे ४१ फिट अग्लो छ । पाल्पाको भैरवनाथ मन्दिरमा रहेको ३५ फिट अग्लो रहेको बताइएको छ । |
टिकटकबाट जुवा खेलाउने चार जना पक्राउ काठमाडौं । प्रहरीले सामाजिक सञ्जाल टिकटक लाइभमार्फत जुवा खेलाउने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले ४० लाख १९ हजार १७६ रुपैयाँ कारोबार गर्ने चार जनालाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा प्रकाश योगी, कपिल गिरि, प्रेम कठायत र डिल्लीराज अवस्थी रहेका छन् । उनीहरुले ईसेवामार्फत सो रकम कारोबार गरेको पाइएको हो ।
ग्वार्को, सूर्यविनायक, लोकन्थलीलगायतका स्थानबाट उनीहरू पक्राउ परेको परेको प्रहरीको भनाइ छ । उनीहरुमाथि कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । |
शीतलरबाट जनजीवन प्रभावित जलेश्वर। दुई सातादेखि शीतलहरले महोत्तरीको जनजीवन प्रभावित बनेको छ। सदरमुकाम जलेश्वरसहित मध्यवर्ती, पश्चिमवर्ती तथा दक्षिणवर्ती क्षेत्रमा चिसोका कारण सर्वसाधारण घरबाहिर कमै निस्किने गरेका छन्।
दिनानुदिन बढ्दै गएको जाडोले कामकाज गर्न पाएका छैनन् । बालबालिका र वृद्धवृद्धा बिरामी हुने क्रम बढेको जिल्लास्थित स्वास्थ्य संस्थाले जनाएका छन्। बारी र खेतमा लगाइएको हिउँदे बाली, दलहन, तेलहन र तरकारी खेती चिसोका कारण कुहिन थालेको किसानले बताएका छन्।
चिसोकै कारण जलेश्वरसहित जिल्लाको सहरी तथा ग्रामीण भेगमा सर्वसाधारणको चहलपहलमा कमी आएको छ। यातयातका साधन न्यून रुपमा चल्न थालेका छन्। बजारमा बाक्लो ऊनी कपडाको बिक्री भने ह्वात्तै बढेको ब्यापारीले बताएका छन्। चिसोकै कारण हाट बजारमा किनमेल गर्न आउनेको सङ्ख्या घटेको छ।
चिसोकै कारण जिल्ला अस्पतालमा बिरामीको सङ्ख्या बढेको चिकित्सक बताउँछन्। दश नगरपालिका र पाँच गाउँपालिका रहेको महोत्तरीका गाउँ बस्तीमा जाडोबाट बच्नका लागि ठाउँठाउँमा गोबर, गुइँठा र खर पातको घुर बनाएर न्यानो प्राप्त गरिरहेका छन्।
जाडोबाट जोगाउन १५वटै पालिकाले गाउँ बस्तीमा सर्वसाधारणलाई ताप्नका लागि ठाउँठाउँमा दाउराको व्यवस्था गरेका छन्। जलेश्वरस्थित नेपाली सेनाको रणभीम गणले गरिब दलित बस्तीमा दाउरा बाल्ने, तातो पानी र चिया दिने काम गरिरहेको छ। जिल्लाभर तीन सय २३ विद्यालयको पठनपाठन पनि बन्द गरिएको छ। |
भारतको अयोध्या लैजान कालीगण्डकीको शिलाको नापजाँच म्याग्दी । कालीगण्डकी नदीको शिला हिन्दूहरुको धार्मिकस्थल भारतको अयोध्या लगिने भएको छ । मुस्ताङको दामोदरकुण्डबाट बगेर आउने कालीगण्डकी हिन्दू धर्मावलम्बीले भगवान् विष्णुको रुपमा पुज्ने शालिग्राम शिला पाइने नदी हो । कालीगण्डकीलाई हिन्दू धर्मावलम्बीले कृष्णागण्डकीको रुपमा पनि चिन्ने गर्दछन् ।
भारतको अयोध्यामा निर्माण हुन लागेको राम मन्दिरमा मुर्ति बनाएर राख्नका लागि पहिचान भएको दुई थान शिलाको बुधबार नापजाँच गरिएको छ । भारत सरकारको प्रस्ताव र नेपाल सरकारको मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार अयोध्यामा कालीगण्डकीको शिला पठाउने प्रक्रिया अन्तिम चरणमा पुगेको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जानकारी दिए ।
“सङ्घीय सरकारले गण्डकी प्रदेश सरकारमार्फत बेनी नगरपालिकालाई शिला उपलब्ध गराउन पत्राचार गरेको थियो”, उनले भने, “बेनीस्थित म्याग्दी र कालीगण्डकी नदीको दोभानदेखि तीन किलोमिटर उत्तर गलेश्वरसम्म करिब दश दिन लगाएर शिलाको अध्ययन र पहिचान भएको थियो ।”
प्रदेश सरकारको शिक्षा, विज्ञान तथा संस्कृति मन्त्रालयका उपसचिव भोजराज न्यौपानेको नेतृत्वमा राम मन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पङ्कज, पश्चिमाञ्चल इञ्जिनियरिङ क्याम्पस पोखराका उपप्राध्यापक नवराज न्यौपानेसहितको टोलीले बेनी नगरपालिका–६ र ८ वडाको सिमानामा पर्ने रातो पहिरोमा पहिचान भएको दुई शिलाको नापचाँच गरेको हो ।
“एउटा १५–१६ मेट्रिक टन र अर्को ११–१२ मेट्रिक टन अनुमानित तौल भएको शिलाको नापजाँच भएको छ”, उपप्राध्यापक न्यौपानेले भने, “जैविक र वातावरणीय असर नपुग्ने गरी शिला उठाएर ट्रकमा राख्ने क्रेन मगाएका छौँ ।” कालीगण्डकी नदीबाट पवित्र बनेका सात फिट लम्बाइ र पाँच फिट चौडाइका दुई थान शिलाको पहिचान गरिएको थियो ।
उपसचिव न्यौपानेले उक्त शालिग्राम बेनी नगरपालिका र गण्डकी प्रदेश सरकारले जनकपुरमा लगेर मधेस प्रदेश सरकारलाई हस्तान्तरण गर्ने र त्यहाँबाट अयोध्या लगिने बताए । साइत जुराएर धार्मिक विधिअनुसार पूजाआजा र बाजा बजाएर बेनीबाट शिलाको बिदाइ गरिने नगरपालिकाले जनाएको छ ।
धार्मिक हिसाबले महत्वपूर्ण भएकाले कालीगण्डकीको शिला अयोध्या लैजान लागिएको हो । शालिग्राम पाइने कृष्णागण्डकीको किनारमा रहेकाले देवशिला भनिएको हो । कालीगण्डकीको शिला अयोध्यामा पु¥याउँदा यहाँको धार्मिक र सांस्कृतिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने कृष्णागण्डकी नदीका अध्येता कुलराज चालिसेले बताए ।
संस्कृति तथा पर्यटन मन्त्रालयले जनकपुरधाम र अयोध्याधामबीच सांस्कृतिक सम्बन्धलाई प्रगाढ बनाउन तथा नेपालको सांस्कृतिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने भन्दै दुई थान शिला उपलब्ध गराउन मन्त्रिपरिषद्मा प्रस्ताव लगेको थियो । मन्त्रिपरिषद् र गण्डकी प्रदेश सरकारको सहमतिपछि कालीगण्डकीमा शिला खोज, अध्ययन र नापजाँचको प्रक्रिया पूरा भएको हो । शालिग्राम पाइने भएकाले कालीगण्डकीलाई पवित्र नदी मानिन्छ ।
कालीगण्डकी किनारको बेनी–गलेश्वर क्षेत्रमा ऋषिहरू पुलह, कपिल र जडभरतले तपस्या गरी सिद्धी प्राप्त गरेको पौराणिक मान्यता भएकाले यस क्षेत्रको शिला धार्मिक हिसाबले महत्वपूर्ण हुने अध्येता चालिसेले बताए । |
नेपाली सेनाद्वारा दुर्गम क्षेत्रमा हेलीप्याड निर्माण डोटी । नेपाली सेनाको सिलगढीस्थित भैरवप्रसाद गणले डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ मा हेलीप्याड निर्माण गरेको छ । गाउँपालिकाको केन्द्रसमेत रहेको चवारा चौतारामा सेनाले हेलीप्याड निर्माण गरेको हो ।
विपद्मा परेका, जटिल अवस्थाका गर्भवती/सुत्केरी महिला तथा गम्भीर खालका बिरामीलाई आकस्मिक उद्धार गर्न सहज होस् भन्ने उद्देश्यका साथ हेलीप्याड निर्माण गरिएको भैरवप्रसाद गणका गणपति प्रमुख सेनानी जनमतबहादुर कार्कीले बताए । “जिल्ला सदरमुकामदेखि टाढा दुर्गम क्षेत्रमा रहेको यस क्षेत्रमा सडकको सहज पहुँच नहुने भएकाले आपत्कालीन अवस्थामा उद्धार गर्न सहज होस् भनेर हेलीप्याड निर्माण गरिएको हो”, उनले भने ।
गाउँपालिकाको समन्वयमा सेनाले रु पाँच लाखको लगानीमा हेलीप्याड निर्माण गरेको बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गडसिलाले बताए। उनले भने, “प्राकृतिक विपद्को समय उद्धारमा साह्रै कठिनाइ भोग्नुपरेको थियो, हेलीप्याड निर्माण भएपछि अब त्यो समस्या रहन्न ।”
जिल्ला सदरमुकामदेखि बोगटान क्षेत्रका सबै क्षेत्रमा यातायातको सुविधा छैन् । |
धादिङको धुवाँकोटमा माघे सङ्क्रान्तिमा गोरु जुधाइने मलेखु । माघे सङ्क्रान्तिको अवसर पारेर धादिङको नीलकण्ठ नगरपालिका–१४ धुवाँकोटस्थित भङ्गेरीमा गोरु जुधाई र कृषि तथा हस्तकला प्रदर्शनीको आयोजना गरिएको छ ।
नीलकण्ठ नगरपालिकाको सहयोगमा संस्कृति संरक्षण तथा पर्यटन प्रवद्र्धन केन्द्र धुवाँकोटले मेलाको आयोजना गरेको हो । परम्परादेखिनै गोरु जुधाउँदै आएको धुवाँकोटको भङ्गेरीमा यस वर्ष १७ हल गोरु जुधाइने केन्द्रका अध्यक्ष शिवकुमार श्रेष्ठले जानकारी दिए ।
“धुवाँकोटमा पहिलादेखिनै गोरु जुधाइने गरिएको थियो, केही वर्ष रोकिएको गोरु जुधाईलाई २०७१ सालदेखि व्यवस्थितरुपमा आयोजना गर्दै आएका छौँ”, उनले भने । धुवाँकोट ऐतिहासिक महत्वका नौमध्ये एउटा महत्वपूर्ण कोट हो । विशेष गरी धुवाँकोटमा पर्यटन प्रवद्र्धन तथा स्थानीय उत्पादनको प्रवद्र्धनमा मद्दत पुग्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको केन्द्रका सदस्य सुमन अधिकारीले बताए ।
गोरु जुधाउन उमेर, आकार र क्षमता हेरेर चार समूहमा विभाजन गरिएको अधिकारीले बताए । पहिलो समूहमा तीन हल गोरु, दोस्रो समूहमा छ हल तथा तेस्रो र चौथो समूहमा चार÷चार हल गोरु रहेका छन् । पहिलो समूहको विजेता गोरुको धनीले रु १२ हजार, उपविजेता गोरुको धनीले रु १० हजार, दोस्रो समूह विजेता र उपविजेताले क्रमशः रु १० हजार र रु आठ हजार तथा तेस्रो समूहले रु आठ हजार र रु छ हजार पाउने छन् । त्यस्तै चौथो समूहको विजेता गोरुको धनीले रु चार हजार र उपविजेता गोरुको धनीले रु दुई हजार पुरस्कार प्राप्त गर्ने छन् ।
गोरु जुधाइने स्थान नीलकण्ठ नगरपालिका–१४ धुवाँकोट भङ्गेरी धादिङबेँसीबाट १२ किलोमिटरको दूरीमा पर्छ । गोरुलाई माघे सङ्क्रान्तिमा जुधाएर मनोरञ्जन लिने चलन धादिङ, नुवाकोट र रसुवामा पाइन्छ । बझाङ्गी राजा जयपृथ्वीबहादुर सिंहको मावली गाउँ तारुका आउँदा भान्जालाई देखाउनको लागि सुरु गरिएको गोरु जुधाउने परम्परा पछिल्ला वर्षमा धादिङमा पनि सुरु भएको छ । |
राष्ट्रनिर्माताको सामरिक सोच र दृढ अठोट मुलुकको जग हो– प्रधानसेनापति शर्मा काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले पृथ्वीनारायण शाहले आधुनिक नेपालको निर्माण र रक्षार्थ पु¥याएको योगदान अतुलनीय रहेको बताएका छन् ।
तीन सय एकौँ पृथ्वी जन्मजयन्तीमा आज गोरखामा आयोजित शालिक अनावरण र झण्डोत्तोलन कार्यक्रममा उनले राष्ट्रनिर्माताले लिएको सामरिक सोच, दृढ अठोट र परिकल्पना देशको जग र साझा फूलबारी भएको उल्लेख गरे ।
प्रधानसेनापति शर्माले भने, “नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षालगायत महत्त्वपूर्ण हितको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्दै नेपाली जनताको हकहितको रक्षा गर्नु नेपाली सेनाको प्रमुख दायित्व छ ।”
सेनाले गढी, किल्ला, दरबार, कोट तथा कला संस्कृतिको संरक्षण गरी राष्ट्रिय एकता कायम गर्न टेवा पु¥याउँदै आएको छ । सेनाका संस्थापक एवं राष्ट्रनिर्माताले नेपालको आर्थिक, सामाजिक एवं वैदेशिक नीतिका सम्बन्धमा दिएको मार्गदर्शन आज पनि उत्तिकै मननयोग्य रहेको उनले उल्लेख गरे ।
राष्ट्रिय सुरक्षा रणनीति, कूटनीति र राष्ट्रिय एकताका सम्बन्धमा दिएको दिव्योपदेश हाम्रो राष्ट्रको गौरवमय इतिहास जोगाइराख्न महत्त्वपूर्ण सावित हुँदै आएको उनको भनाइ थियो ।
यसअघि आजै सैनिक मुख्यालयमा आयोजित समारोहमा प्रधानसेनापति शर्माले त्यहाँस्थित राष्ट्रनिर्माताको शालिकमा माल्यार्पण गरे । त्यहाँ प्रा डा जगमान गुरुङ र प्रा डा घनश्याम भट्टराईबाट दिव्योपदेशसम्बन्धी प्रवचन भएको सैनिक जनसम्पर्क तथा सूचना निर्र्देशनालयले जनाएको छ । प्रधानसेनापति शर्माले कविता प्रतियोगिता तथा लघु नाटक प्रतियोगिताका विजयी सकलदर्जा तथा छात्रछात्रालाई पुरस्कृत गरेका थिए । |
कामपाको आगामी तीन वर्षको आय प्रक्षेपण काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी तीन वर्षको आय प्रक्षेपण गरेको छ । आगामी आर्थिक वर्ष २०८०/८१, २०८१/८२ तथा २०८२/८३ को लागि आय प्रक्षेपण गरिएको हो ।
आव २०८०/८१ को आय रु ११ अर्ब ८० करोड २० लाख, आव २०८१/८२ को रु १३ अर्ब १२ करोड ३० लाख तथा आव २०८२/८३ को रु १३ अर्ब ६६ करोड ३० लाख प्रक्षेपण गरिएको छ । सङ्घीय सरकार, प्रदेश सरकार र अन्य निकायबाट प्राप्त हुने, शसर्त तथा निःशर्त अनुदान, राजस्व बाँडफाँट, रजिष्ट्रेसन दस्तुर, मूल्य अभिवृद्धि करलगायत शीर्षकको सिलिङ प्राप्त नभएकाले प्रक्षेपण गरिएको अङ्क थपघट हुनसक्ने कामपा राजस्व विभागका प्रमुख डा शिवराज अधिकारीले जानकारी दिए ।
विगत तीन वर्ष कोरोनाका कारण अपेक्षाकृत रुपमा राजस्व सङ्कलन हुन नसके पनि आगामी वर्षमा लक्ष्यअनुरुप आय हुने विश्वास कामपाले लिएको छ । चालु आवका लागि कामपाले रु १० अर्ब ३९ करोड राजस्व असुल गर्ने लक्ष्य लिएकामा यही पुस १५ सम्ममा रु चार अर्ब ३४ करोड असुल गरिसकेको अधिकारीले बताए । गत आवको सोही अवधिमा रु तीन अर्ब ६९ करोड राजस्व जम्मा भएको थियो । गत वर्षको तुलनामा सोही अवधिमा यस वर्ष रु एक करोडले बढी राजस्व असुल गर्न सफल भएको अधिकारीले जानकारी दिए । गत आवमा कोरोनाको त्रास कायमै रहेकाले रु नौ अर्ब आठ करोड मात्र राजस्व असुलीको लक्ष्य लिइएको थियो ।
विगत वर्षमा कोरोनाका कारण राजस्व असुलीमा केही समस्या आए पनि यस वर्ष हालकै अवस्थामा राजस्व असुलउपर भए लक्ष्यमा पुग्न कुनै समस्या नहुने डा अधिकारीको भनाइ छ । “यस वर्ष कामपाका लागि बाह्य अनुदान रकम कम छ । आन्तरिक राजस्व असुलमा खासै समस्या छैन”, उनले भने । पछिल्लो समय कमपाले राजस्व सङ्कलनका लागि थप कडाइ गरेको छ ।
मुख्यगरी सम्पत्ति कर, घरबहाल घर, व्यवसाय कर, विज्ञापन कर, मनोरञ्जनक कर, भूमिकर, मूल्य अभिवृद्धि कर र सवारी साधन करसहित ३६ शीर्षकमा कामपाले राजस्व असुल गर्दै आएको छ । यसैगरी आव २०८०/८१ का लागि सम्पत्ति करमा पुनरावलोकन गर्ने कामपाको तयारी छ । यो सडकको पहुँच र प्रकृतिका आधारमा निर्धारण हुने भएकाले वडा कार्यालयबाट छलफल चलाएर सडकको प्रकृति सिफारिस गर्न अनुरोध गर्ने निर्णय गरिने बताइएको छ । कामपाले विगत सात वर्षदेखि सम्पत्ति करमा पुनरावलोकन गरेको छैन । कामपाको राजस्व ऐन २०७५ को दफा ८ (१) मा हरेक दुई वर्षमा कर पुनरावलोकन गर्न सकिने व्यवस्था छ । |
मानुङकोटमा दश फिट अग्लो नेपालको झण्डा दमौली । तनहुँको व्यास नगरपालिका–५ स्थित मानुङकोटमा नेपालको झण्डा राखिएको छ । टिम नेपो तनहुँले ३०१औँ पृथ्वीजयन्तीको अवसरमा मानुङकोटमा दश फिट अग्लो झण्डा राखेको हो ।
पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको मानुङकोटको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित राखिएको झण्डाको आज व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले अनावरण गरे । सो अवसरमा नगरप्रमुख न्यौपानेले पर्यटकीय सम्भावनायुक्त मानुङकोटलाई थप प्रवर्द्धन गर्ने उद्देश्यसहित नेपालको झण्डा राखिएकामा संस्थाको प्रशंसा गरे । स्वास्थ्य, शिक्षा, वातावरण र युवा नेतृत्व विकासको क्षेत्रमा संस्थाले खेल्दै आएको भूमिका सकारात्मक रहेको न्यौपानेको भनाइ थियो ।
टिम नेपो तनहुँका अध्यक्ष रवि अधिकारीले मानुङकोट पर्यटकीय गन्तव्यका रूपमा विकसित भइरहेको अवस्थामा एउटा इँटा थप्ने उद्देश्यसहित नेपालको झण्डा राखिएको बताए ।
चिसो मौसम सुरु भएसँगै मानुङकोटमा आन्तरिक पर्यटकको भीड बढ्न थालेको छ । सूर्योदय र कुहिरोको दृश्य हेर्न यहाँ पर्यटक उक्लिने गरेका छन् । अन्य दिनभन्दा शनिबार मानुङकोटमा पर्यटकको चाप बढ्ने गरेको छ । शनिबारको दिन करिब पाँच हजार पर्यटक यहाँ पुग्छन् ।
मानुङकोटबाट कुहिरो, सूर्योदय र हिमालको मनोरम शृङ्खला देखिने भएकाले पर्यटकको चहलपहल बढेको हो । मानुङकोटबाट धौलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिन्छ । जाडो मौसम भएको र मानुङकोटमा बिहानै घाम लाग्ने भएकाले पनि आन्तरिक पर्यटक बिहानै यहाँ पुग्ने गरेका छन् ।
दमौली बजारलाई कुहिरोले ढाक्नुलाई पौराणिक कथासँग पनि जोडिएको छ । परापूर्वकालमा महर्षि वेदव्यासका पिता पराशर ऋषिले सत्यवतीसँग सम्भोग गर्न इच्छा प्रकट गर्दा लोकलाई पत्तो नहोस् भनेर कुहिरो उत्पन्न गराइदिएको धार्मिक किंवदन्ती रहँदै आएको छ । |
गोरखालाई समृद्धिको नमूना जिल्लाका रूपमा विकास गरिनेछ : उपप्रधानमन्त्री श्रेष्ठ गोरखा । सङ्घीय सरकारका उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले गोरखालाई समृद्धिको नमूना जिल्लाकारूपमा विकास गर्ने बताएका छन् ।
गोरखा उद्योग वाणिज्य सङ्घको आयोजनामा गोरखा सदरमुकाममा आजदेखि सुरु भएको ११ औँ गोरखा महोत्सव एवं प्रदेशस्तरीय कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला–२०७९ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले गोरखाको जनताको अपेक्षाअनुसार जिल्लाको विकास निर्माणको काम अघि बढाइने प्रतिबद्धतासमेत व्यक्त गरे ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगै गोरखा आइपुगेका उपप्रधानमन्त्री श्रेष्ठले भने, “निर्वाचनमा गरेका प्रतिबद्धतालाई पूरा गर्ने गरी काम गर्न प्रधानमन्त्रीले मलाई निर्देशन दिइसक्नुभएको छ, अब त्यसैअनुसार गोरखाको विकास निर्माणको काम अघि बढ्छ ।”
उपप्रधानमन्त्री श्रेष्ठले जिल्लाभित्र अधुरा रहेका विकास निर्माणको कामलाई तीव्रता दिइनेसमेत बताए । उनले जनताले तीव्र विकास र आर्थिक समृद्धि चाहेकाले अब पुरानो शैलीमा काम गरेर मात्र नहुने बताए ।
उपप्रधानमन्त्री श्रेष्ठले देशको आर्थिक अवस्थालाई चलायमान बनाउन विभिन्न मेला महोत्सवले महत्त्वपूर्ण भूमिका खेल्ने भन्दै गोरखा उद्योग वाणिज्य सङ्घको आयोजनामा भएको औद्योगिक व्यापार मेलाले गोरखाको आर्थिक विकासमा टेवा पु¥याउने विश्वास व्यक्त गरे । |
पृथ्वी जयन्तीको अवसरमा राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन दाङले गर्यो रक्तदान कार्यक्रम दाङ । राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०१ औ जन्मजयन्ती एवं राष्ट्रिय एकता दिवसको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन दाङले रक्तदान कार्यक्रम घोराहीमा सम्पन्न गरेको छ।
यूवाहरु भविष्यका कर्णधार मात्र होइनन, वर्तमानका साझेदार पनि हुन भन्ने नारासहित वृहत रक्तदान कार्यक्रमको आयोजना गरिएको यूवा संगठन दाङका अध्यक्ष यादव श्रेष्ठले वताए। रक्तदान जीवनदान भएको वताउदै श्रेष्ठले रगतको अभावमा कसैले पनि अकालमा ज्यान गुमाऊन नपरोस् भन्ने उद्देश्यका साथ रक्तदान कार्यक्रम गरिएको वताए।
रक्तदान कार्यक्रममा सहभागी उमाकान्त भण्डारी, त्रिभुवन थपा,भुवन आचार्य,अमित चौधरी, ईश्वर वस्नेत,भरत आचार्य,विजय दाहाल, सन्दिप दाहाल,मधुकर न्यौपाने,मदन वुढाथोकी,काजल घर्ती मगर,लक्ष्मि राना,शिसिर चौधरी, सरोज थापा, अर्जुन डागी,पवन खड्का, नरेन्द्र थापा, लक्ष्मण सुवेदी,एकराज भण्डारी, धिरेन्द्र शाह,आसा चौधरी,मोहन विक्रम वस्नेत,विभु वुढाथोकी, देविराम पाण्डे, शुसिल पौडेल,विनय विसी, निरन्जन गिरी गरी जम्मा २७ जनाले रक्तदान गरेको श्रेष्ठले जानकारी दिए।
कार्यक्रममा राप्रपा केन्द्रीय सदस्य दामोदर भण्डारीले पृथ्वीनारायण शाहको योगदानको चर्चा गर्दै पृथ्वीनारायण शाहको कारण सिंगो नेपाल एकिकरण भएको वताए। राप्रपा केन्द्रीय सदस्य सरीता देवकोटाले सहमति, सहकार्य र एकतामा जोड दिएका कारण पृथ्वीनारायण शाहले बाईसे, चौबिसे राज्यहरू लाई एकिकरण गर्न सफल भएको वताईन ।
राप्रपा दाङका अध्यक्ष क्षेत्र वहादुर वस्नेतले राष्ट निर्माता पृथ्वीनारायण शाहले अनुसरण गरेको सिद्धान्त व्यवहारमा उतार्न सक्ने हो भने जस्तोसुकै अवरोधको सामना गर्न सकिने वताए। राप्रपा दाङका उपाध्यक्ष वंशी कुमार शर्माले पृथ्वीनारायण शाहको योगदान र जिवनीको चर्चा गर्दै कुसल एवं चतुर राजाका कारण एकिकरण अभियान सफल भएको वताउदै उनै राजाका कारण सार्वभौम सम्पन्न राष्ट्रको जनता हुन पाएको वताए।
राष्ट्रिय प्रजातान्त्रिक यूवा संगठन दाङका अध्यक्ष यादव श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि राप्रपा केन्द्रीय सदस्य दामोदर भण्डारी रहेका थिए भने विशिष्ट अतिथि राप्रपा केन्द्रीय सदस्य सरीता देवकोटा रहेकी थिइन्। राप्रपा दाङका संगठन विभाग प्रमुख बसन्त श्रेष्ठको स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रमको सञ्चालन राप्रपा दाङका यूवानेता मोहन विक्रम वस्नेतले गरेका थिए। |
नारायणी नदी क्षेत्रमा ४३ प्रजातिका चरा भेटिए मध्यबिन्दु । यस वर्षको जलपक्षी गणनाका क्रममा नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)मा ४३ प्रजातिका चरा भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पक्षी गणना संयोजक डिबी चौधरीले यस वर्ष नवलपुर क्षेत्रमा ४३ प्रजातिका चरा भेटिएको जानकारी दिए ।
“गत वर्षको पक्षी गणनामा ३८ प्रजातिका पक्षी भेटिएका थिए, यसपालिको गणनामा नारायणी नदी क्षेत्रमा ४३ प्रजातिका पक्षी भेटिए”, उनले भने । चरा गणनाका क्रममा अहिलेसम्म नारायणी क्षेत्रमा नभेटिएको ‘राज सुड सुडिया’ नामको पक्षी पनि अहिले भेटिएको चौधरीले बताए ।
गतवर्ष नदेखिएका विभिन्न चार प्रजातिका चरा यसवर्ष देखा परेको संयोजक चौधरीले बताए । “यस वर्षको गणनामा जुरे हुटिट्याउ, बेल्चा ठुडे हाँस, जुरे हाँस र लाल खुट्टे टिम टिया प्रजातिका चरा फेला पारेका छन्”, उनले भने, “चितवन राष्ट्रिय निकुञ्जको नवलपुर क्षेत्रमा गत वर्ष यी प्रजातिका चरा गणना भएका थिएनन् ।”
नेपालको जल क्षेत्रमा एक सय ६२ प्रजातीका चरा पाइने गरेका छन् । ती मध्ये नारायणी नदी क्षेत्रमा यसवर्ष उक्त प्रजाती फेला परेको जनाइएको छ । नवलपुरतर्फको चितवन राष्ट्रिय निकुञ्ज र नारायणी नदी तथा सिमसार क्षेत्रमा चार समूह बनाएर चरा गणना गरिएको थियो । सिघ्रौलीदेखि अमलटारी, सिघ्रौलीदेखि पिठौली, पिठौलीदेखि अमलटारी र अमलटारीदेखि त्रिवेणी गण्डक ब्यारेजसम्म गरी चार समूहमा चरा गणना गरिएको हो । गत वर्षको तुलनामा यसवर्ष चराको समग्र सङ्ख्या घटेको प्रारम्भिक अनुमान गरिएको छ ।
“यस वर्ष पनि समग्रमा चराको सङ्ख्या घटेको पायौँ”, चौधरीले भने “प्रत्येक वर्ष नेपालमा क्रमिक रुपमा चराको सङ्ख्या घटिरहेको छ ।” साइबेरियालगायत उत्तरी गोलार्धबाट चिसो छल्न यहाँ आउने पाहुना चरामध्ये यस वर्ष सबैभन्दा धेरै सङ्ख्यामा खोया हाँस देखिएका उनले बताए ।
“कुनै प्रजातिका चरा गत वर्षभन्दा बढी र कुनै प्रजातिका चरा गत वर्षको तुलनामा न्यून देखिएका छन्”, चौधरीले भने, “यस क्षेत्रमा चखेवा, खोया हाँस, जलेवा र पानी गौथली चरा धेरै पाइने गरेका छन् ।” निकुञ्जसहित नारायणी नदी र सिमसारमा पाइने रैथाने चराको सङ्ख्यामा भने खासै फरक नदेखिए पनि आगन्तुक चराको सङ्ख्यामा धेरै नै कमी आएको चौधरीले बताए । |
सेनाका गजेन्द्र राई गोरखाका नयाँ राजा पोखरा। पृथ्वी जयन्तीका दिन आयोजना गरिएको म्यान अफ दी गोरखा नेपाली सेनाका गजेन्द्र राईले जितेका छन् । दौडेर राजा हुने परम्पराको सम्झतामा पृथ्वी जयन्तीका दिन दौड प्रतियोगिता आयोजना गरिएको हो।
द्रव्य शाहले दौडेर राजा बनेको पस्लाङको चौतारादेखि गोरखा दरबारसम्म ८ किलोमिटर दौड राईले ३० मिनेट ६ सेकेण्डमा पूरा गरेका हुन्।
उनलाई द्रव्य शाहको पगरीसहित पुरानो समयकै पोशाक लगाइदिएर सम्मान गरिएको छ। उनलाई झाँकी र र्याली सहित नगर परिक्रमा गरिनेछ। दौडमा सेनाकै मोहनदेव जोशीले ३० मिनेट ५७ सेकेण्डमा दौड पूरा गरी दोश्रो भए भने सेनाकै टंक कार्कीले ३१ मिनेट १३ सेकेण्डमा दौड पूरा गरेर तेस्रो भए।
सशस्त्र प्रहरी क्लवका राजेन्द्र तामाङले ३१ मिनेट ३५ सेकेण्डमा र गोरखा नगरपालिकाका नवराज गुरुङले ३३ मिनेटमा दौड पूरा गरी सान्त्वाना भएका प्रतियोगिता संयोजक चन्दनबाबु खत्रीले जानकारी दिए। दौडमा १६ जना सहभागी थिए।
म्यान अफ दि गोरखाका विजेतालाई ३० हजार नगद सहित पुरस्कृत गरिनेछ। दोस्रोलाई २० हजार, तेस्रोलाई १० हजार र सान्त्वनालाई ५ हजार पुरस्कारको व्यवस्था गरिएको छ।
|
एचआइभी सङ्क्रमितमा कुपोषणको समस्या चितवन। जिल्लामा रहेका एचआइभी सङ्क्रमितहरूमा कुपोषणको समस्या देखिएको छ। एएचएफ नेपालले भरतपुर अस्पतालको सहकार्यमा सञ्चालन गरेको एआरटी सेन्टरको तथ्याङ्कानुसार जिल्लामा रहेका सङ्क्रमितमध्ये दुई सय ३० जनामा कुपोषण देखिएको छ।
कुपोषण हुनेमा महिलाको सङ्ख्या धेरै रहेको एएचएफ नेपालका वरिष्ठ कार्यक्रम अधिकृत कृष्णहरि सापकोटाले जानकारी दिए। उनका अनुसार सङ्क्रमितमा पिछडा वर्गका समुदायका बढी सङ्ख्यामा कुपोषण समस्या देखिएको छ। भरतपुर महानगरपालिका, माडी, रत्ननगर, खैरहनी र कालिका नगरपालिकामा रहेका सङ्क्रमितमा कुपोषणको समस्या देखापरेको हो। परिवारका सदस्यमा सङ्क्रमण हुँदा आयआर्जनमा समस्या परेकाले कुपोषण देखिने गरेको उनको भनाइ छ।
कुपोषणका कारण एचआइभी एड्स सङ्क्रमितमा विभिन्न किसिमका समसया देखिने गरेको उनले बताए। उनले भने, “कुपोषणका कारण रोगसँग लड्ने क्षमताको विकास नहुँदा अन्य रोगको सङ्क्रमण बढ्दै जान्छ।” रोगसँग लड्ने क्षमताको विकास नभएपछि शरीरमा भाइरसको सङ्ख्या बढ्ने, रक्तअल्पता हुने, दैनिक आर्यआर्जनमा समस्या हुने, क्षयरोग, झाडापखला, घाउ खटिरा हुने, ज्वरो आउने, निमोनिया हुनेजस्ता समस्या भइरहने उनले बताए।
जसका कारण मानव स्वास्थ्यमा नियमित समस्या देखिने गरेको उनको भनाइ छ। एचआइभी एड्स सङ्क्रमितमा कुपोषणको समस्या नहोस् भनेर कार्यालयले उनीहरूलाई जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ भने स्थानीय सरकारसँग समन्वय गरेर पोषणयुक्त खानाका लागि सहयोग गरेको छ।
अहिले जिल्लामा एक हजार एक सय १० जना सक्रिय सङ्क्रमित रहेका छन्। उनीहरूले नियमित औषधि सेवन गर्ने गरेको उहाँले जानकारी दिए। सापकोटाका अनुसार सन् २०२२ मा जिल्लामा एक सय १४ जना नयाँ सङ्क्रमित थपिएका छन्। जसमध्ये ३४ भरतपुर अस्पतालमा र ८० जना जिल्लामा रहेका विभिन्न सङ्घसंस्थाको सक्रियतामा पत्ता लागेका हुन्।
यस वर्ष सेन्टरबाट एक सय ४५ नयाँ बिरामीले औषधि सेवन गर्न थालेका छन्। जसमध्ये ३१ जना जिल्ला बाहिरबाट यहाँ आएका हुन्। यस्तै यस वर्ष जिल्ला छाडेर स्थानान्तरण हुनेको सङ्ख्या ४६ जना रहेको उनले बताए। |
प्रदेशको नामकरण गर्न प्रदेशसभा सदस्यको जोड विराटनगर । प्रदेश १ को दोस्रो प्रदेशसभा बैठकमा प्रदेशसभा सदस्यहरुले नामकरणमा जोड दिएका छन् । अघिल्लो कार्यकालमा नामकरण हुन नसक्दा चौतर्फी आलोचना खेप्नु परेको भन्दै उनिहरुले नामकरणलाई उच्च प्राथमिकतामा राख्नुपर्ने बताएका हुन् ।
नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नामकरणको विषय सरकारको उच्च प्राथमिकतामा भएको बताए । सबै दलसँगको सहमतिमा चाँडै साझा नाम राख्ने गरी प्रयास थाल्ने उनको भनाइ छ । “अघिल्लो कार्यकालमा प्रदेशको नामकरण गर्न नसक्दा चौतर्फी आलोचना भएको छ”, उनले भने, “सबैको साझा सहमतिमा नामकरण गर्नु सरकारको उच्च प्राथमिकता छ ।”
नेपाली कांग्रेस प्रदेश १ का संसदीय दलका नेता उद्धव थापाले विगतको सरकारले प्रदेशको नाम राख्न नसक्दा विभिन्न आरोप खेप्नुपरेको उल्लेख गर्दै नामकरण गर्न सरकारलाई आफ्नो पार्टीले साथ दिने बताए । चाँडै नामकरणका लागि पहल गर्न पनि उनले प्रदेश सरकारसित आग्रह गरे ।
प्रदेशसभामा नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले अघिल्लो कार्यकालमा नामकरण हुन नसक्दा चौतर्फी आलोचना भएको बताए । प्रदेशसभाले मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नेतृत्वका समयमै नामकरण टुङ्गो लगाउने आङ्बोले बताए ।
यस्तै बिनाविभागीय मन्त्री निर्मला लिम्कूले पहिचानसहितको नामकरण हुनुपर्ने बताए । नेकपा (एमाले)का राम रानाले नामकरण प्रदेश सरकारको पहिलो काम भएको बताए । अघिल्लो कार्यकालमा सात प्रदेशमध्ये छवटाले नाम पाए पनि प्रदेश १ ले नामकरण गर्न सकेको थिएन । |
गोरखा नगरपालिकाको नाम ‘पृथ्वीनारायण’ राख्न राप्रपाको माग गोरखा । राष्ट्रिय प्रजातन्त्र पार्टी गोरखाले गोरखा नगरपालिकाको नाम परिवर्तन गरेर ‘पृथ्वीनारायण नगरपालिका’ राख्न माग गरेको छ ।
नगरप्रमुख कृष्णबहादुर रानामगरलाई ज्ञापनपत्र बुझाउँदै राप्रपा गोरखाले नाम परिवर्तन गर्न माग गरेको हो । राप्रपाका जिल्ला उपाध्यक्ष सुदीप ढकाल नेतृत्वको टोलीले नगरप्रमुख रानामगरलाई ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा गोरखा नगरपालिकाको अगुवाइमा सदरमुकामको ठूलो आँगनमा पृथ्वीनारायण शाहको शालिक राखिएकामा नगरपालिकालाई धन्यवाद राप्रपाले धन्यवाद दिएको छ ।
मुलुक सङ्घीय संरचनामा जानुअघि गोरखा नगरपालिकाको नाम पृथ्वीनारायण नगरपालिका रहेको थियो । सङ्घीयता कार्यान्यनसँगै नगरपालिकाको नाम परिवर्तन गरी ‘गोरखा’ राखिएको हो ।
यसैबिच नेपाल एकिकरणका अभियन्ता पृथ्वीनारायण शाहको ३०१औँ जन्मजयन्ती मनाउन गोरखामा धुमधामका साथ तयारी थालिएको छ । पृथ्वीजयन्तीको पूर्वसन्ध्यामा आज गोरखा सदरमुकाम क्षेत्र राष्ट्रिय झण्डासहितको ध्वजापताकाले सजाइएको छ । बुधबार ठूलो आँगनमा नेपाली सेना र गोरखा नगरपालिकाले निर्माण गरेको पृथ्वीनारायण शाहको पूर्णकदको शालिक अनावरण गर्ने कार्यक्रम रहेको नगरप्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिए । |
नवजात शिशुको मृत्यु भएपछि आम्दा अस्पतालमा तोडफोड दमक । लापरबाहीका कारण नवजात शिशुको मृत्यु भएको भन्दै दमकको आम्दा अस्पतालमा आज आक्रोशित समूहले तोडफोड गरेको छ । आक्रोशित भीडले अस्पतालको प्रसूति गृहमा तोडफोड गर्नुका साथै त्यहाँका सिसी क्यामेरा फुटाएको अस्पताल प्रशासनले जनाएको छ । घटनालाई नियन्त्रणमा लिन प्रहरी नै पुग्नुपरेको थियो ।
इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार पाँचथरको तुम्बेवा गाउँपालिकाका अध्यक्ष बाबुराम खड्का र उनकी श्रीमती रोशा कट्वाललाई आइतबार राति १०ः३० बजे शल्यक्रियामार्फत पुत्रलाभ भएको थियो ।
नवजात शिशुको अवस्था आज बिहानसम्म सामान्य रहेको तर अचानक बिहान ९ बजे शिशुमा समस्या देखिएपछि समयमै उपचार नहुँदा नवजात शिशुको मृत्यु भएको पीडित खड्काको आरोप छ । सुत्केरी आमाको अवस्था जटिल भई थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको बताइएको छ ।
प्रनाउ गिरीको पहलमा पीडित पक्ष र अस्पताल प्रशासनबीच आज दिउँसो छलफल भई सहमति भएको बताइएको छ । आम्दा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाश शर्माले शिशुको उपचारमा सक्दो प्रयास गरे पनि बचाउन नसकेको भन्दै दुःख व्यक्त गरे । |
सप्तरीमा चिसोले कठ्याग्रिएर मृत्यु हुनेको संख्या दुई पुग्यो सुधा देव
सप्तरी । सप्तरीमा चिसोले कठ्याग्रिएर मृत्यु हुनेको संख्या दुई पुगेको छ । सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका वडा नम्बर ४ बेल्हामा सोमबार चिसोले कठ्यांग्रिएर एक जनाको मृत्यु भएपछि यस वर्ष अहिलेसम्म चिसोले कठ्याग्रिएर मृत्यु हुनेको संख्या दुई पुगेको हो । मृत्युु हुनेमा स्थानीय अन्दाजी ६५ बर्षीय कपलेश्वर सदा रहेका छन् ।
बिगत केही दिन यता तराईमा बढेको अत्यधिक चिसोको कारण अस्वस्थ रहेको सदाको सोमबार साँझ ७ बजे कठयांग्रिएर मृत्यु भएको स्थानीय बताएका छन् । चिसोका कारण बिरामी परेका सदा महुली उपचार गरि घर फर्केर घरैमा सुतेको अवस्थामा ज्यान गएको स्थानीय ललकु सदाले जानकारी दिएका छन् ।
मृतक परिवारलाई खान लगाउनसमेत समस्या हुँदै आएको थियो । कपडाको अभावमा उनको कठयांग्रिएर मृत्यु भएको उनले बताए । बिगत केही समय यता सप्तरीसहित तराईका जिल्लाहरुमा बढेको अत्यधिक चिसोका कारणले यहाँको जनजीवन निकै कष्टकर भएको स्थानीय विजय देवले जानकारी दिए ।
चिसो बढेपछि जिल्लाका अधिकाश पालिकाहरुले केही दिनको लागि सामुदायिक तथा संस्थागत विद्यालयसमेत बन्द गरेका छन् । जिल्ला प्रशासन कार्यालय सप्तरीले चोक तथा सार्वजनिक स्थानमा दाउरा उपलब्ध गराई आगो ताप्ने व्यवस्था मिलाएको छ । यसअघि सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ४ का ४५ वर्षिय देवु सदाको चिसोले कठ्याग्रिएर मृत्यु भएको थियो । |
कर्णाली सभ्यता र संस्कृतिमा समृद्ध : राष्ट्रपति काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कर्णाली सभ्यता र संस्कृतिमा समृद्ध रहेको बताएकी छन्। कर्णाली कलाकार समाज र कनका सुन्दरी फिल्म्सले संयुक्तरूपमा आज यहाँ आयोजना गरेको ‘रारा राष्ट्रिय म्युजिक अवार्ड २०७९’ को उद्घाटन गर्दै उनले आधुनिक, भौतिक र पूर्वाधार विकासका दृष्टिले कर्णाली पछि परे पनि सभ्यता र संस्कृतिमा समृद्ध रहेको बताइन् ।
कर्णाली कला, संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्ने उद्देश्यले स्रष्टालाई सम्मान गरेकोमा आफूलाई खुसी लागेकोसमेत उनले बताइन् । गुणस्तरीय शिक्षामार्फत दक्ष जनशक्ति उत्पादन गरी कर्णालीमा रहेको प्राकृतिक स्रोत र साधन सदुपयोग गर्नसके सामाजिक तथा आर्थिकरूपमा समेत कर्णाली क्षेत्रलाई माथि उठाउन सकिने उनको भनाइ थियो ।
राष्ट्रपति भण्डारीले प्राकृतिक सुन्दरता र विविधतायुक्त संस्कृतिमा आधारित पर्यटन प्रवर्द्धनको ठोस योजना तथा कार्यक्रम अगाडि सारेर यसको कार्यान्वयन गर्नसके आर्थिक विकासमा फड्को मार्न सकिने धारणा व्यक्त गरिन् । उनले कर्णाली क्षेत्रले समग्र नेपालको कला र संस्कृतिमा पु¥याएको योगदानलाई आजको यस कार्यक्रमले उजागरण गर्न मद्दत पु¥याएको बताए ।
“आजको यस कार्यक्रमले हाम्रो मौलिक कला, सङ्गीत र संस्कृतिको संरक्षण तथा सम्वर्द्धनका लागि कलाकार तथा स्रष्टाहरूलाई उत्साहित बनाउँदै अग्रसर हुन थप प्रेरणा प्रदान गर्न सहयोग मिल्ने विश्वास गर्दछु”, उनले भनिन् ।
उनले कर्णालीको सिञ्जा उपत्यकालाई नेपाली भाषाको उद्गमस्थलका रूपमा मानिएको भन्दै संस्कृतिविद् सत्यमोहन जोशीको संलग्नतामा कर्णाली क्षेत्रको समाज, जीवन र संस्कृतिसमेतको अध्ययनमा कर्णालीको लोक संस्कृति प्रकाशनमा आएपछि यस क्षेत्रको विशिष्टताका बारेमा हामीले थप परिचित हुने मौका मिलेको बताइन् ।
उनले विविध संस्कृतिले सजिएको नेपाल सांस्कृति सम्पदाले सुसम्पन्न विश्वभर परिचित रहेको बताइन् । “यहाँका विविध संस्कृतिभित्र मौलिक परम्परा, कला तथा साहित्य विद्यामान छ । हरेक मुलुकको संस्कृतिलाई त्यहाँको कला सामाजिक संस्कार र परम्पराले प्रत्यक्ष प्रभाव पार्ने हुनाले यसलाई समाजको दर्पण मानिएको छ”, उनले भनिन्, “हाम्रा मौलिक गीत सङ्गीत र बाजाहरू अतुलनीय रहेको छ । जसले हामीलाई उन्नत राष्ट्रिय भावनामा आबद्ध गरेको छ । यसै हुनाले नेपाली समाज र संस्कृतिका रूरुपमा सयौँ थरी बाजा एउटै ताल भन्ने भनाइ सार्थक भएको छ भन्ने मलाई लागेको छ ।”
उनले अध्ययन, अनुसन्धान र संरक्षणका माध्यमबाट कला र संस्कृतिको जगेर्ना गर्दै भावी पुस्तालाई हस्तान्तरण गर्नु हामी सबैको दायित्व भएको बताइन् ।
कार्यक्रममा कलाकार शम्भुजित बाँस्कोटा, नन्दकृष्ण जोशी, अमृत खाती, समाजसेवी ज्ञानेन्द्र श्रेष्ठलगायतलाई सम्मान गरिएको थियो ।
यस्तै कलाकार एलिना सापकोटा, भीमप्रसाद गजुरेल, मेचु धिमाल, सनम कठायत, पूर्ण चौलागाईं, यमप्रसाद न्यूरेलगायतलाई सर्वोकृष्ट अवार्ड प्रदान गरिएको थियो ।
कार्यक्रममा रमानन्द आचार्यले कर्णालीका पहिचान बनाउन अभियान थाल्नुपर्ने बताए । समाजका अध्यक्ष पदम रोकायले कर्णाली क्षेत्रको समग्र कला, संस्कृतिको विकासमा योगदान पु¥याएबापत सम्मान र अवार्ड प्रदान गरिएको बताए । |
चंखेली गाउँपालिकाका लेखा अधिकृत प्रहरी नियन्त्रणमा सुर्खेत । हुम्लाको चंखेली गाउँपालिकाका लेखा अधिकृत नविन रेग्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मादक पदार्थ सेवन गरी ड्टयुटीका प्रहरीमाथि अभद्र व्यवहार गरेपछि रेग्मीलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले नियन्त्रणमा लिएको हो ।
वीरेन्द्रनगरस्थित मंगलगढी चोकमा ट्राफिक चेकजाँचका क्रममा रेग्मीले प्रहरीसँग अभद्र व्यवहार गरेको प्रहरी नायब निरीक्षक जयराम घर्तीले जानकारी दिए । घर्तीका अनुसार मापसे गरी मोटरसाइकल चलाएका रेग्मीले ड्युटीमा खटिएका प्रहरीसँग अपशब्द प्रयोग गरेका थिए ।
रेग्मीले चलाएको कर्णाली प्रदेश ००२–००१ प २९६ नम्बर मोटरसाइकल समेत प्रहरीको नियन्त्रणमा रहेको छ । |
बागमती प्रदेश सरकार प्रवक्तामा थपलिया मकवानपुर । बागमती प्रदेश सरकारको प्रवक्ताको जिम्मा आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले पाएका छन् । प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जमकट्टेलको अध्यक्षतामा आज बसेको प्रदेश सरकारको मन्त्रिपरिषदको पहिलो बैठकले सरकारको प्रवक्ताको जिम्मा थपलियालाई तोकेको हो ।
त्यस्तै, उक्त बैठकले प्रादेशिक संरचना निर्माणका लागि सङ्घीय सरकारसमक्ष पठाइएको जग्गा प्राप्ति सम्बन्धी सिफारिसको अनुगमन गर्ने निर्णय गरेको छ । उक्त विषयमा थप पहल गर्न प्रदेशको मुख्य सचिव मुकुन्दप्रसाद न्यौपानेलाई जिम्मेवारी दिइएको प्रवक्ता थपलियाले जानकारी दिए ।
बैठकले प्रदेशको १४ वटा मन्त्रालयलाई घटाउने निर्णय गरेको हो । उक्त विषयमा अध्ययनका लागि मुख्य सचिव न्यौपानेको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरिएको छ । कार्यदललाई आगामी १५ दिनभित्र प्रतिवेदन तयार पारी पेस गर्न निर्देशन दिइएको छ ।
समितिको सदस्यमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कानुन सचिवलगायत रहने गरी तोकिएको छ । |
नेपाली सेनाको एकीकरण टर्च र्याली काठमाडौँ आइपुग्यो काठमाडौं । नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाह हिँडेको बाटो पछ्याउँदै पदयात्रा सुरु गरेको नेपाली सेनाको ‘एकीकरण टर्च र्याली’ आज काठमाडौँ आइपुगेको छ ।
गत बिहीबार गोरखाबाट हिँडेको ‘एकीकरण मार्ग पदयात्रा’ आज विहान ९ बजे काठमाडौँ आइपुगेको हो । गोरखाबाट हिँडेको उक्त टोली धादिङको भर्याङ भुरुङ, नुवाकोट र ककनी हुँदै काठमाडौँ आइपुगेको हो । काठमाडौँ आउने क्रममा तारकेश्वर वडा नं ३ ले पाँचमानेमा उक्त टोलीलाई बाजागाजासहित फूलमालाले स्वागत गरेको वडा अध्यक्ष पर्शुराम अर्यालले जानकारी दिए ।
काठमाडौँ आइपुगेको उक्त र्याली आज हनुमानढोकामा पुग्ने नेपाली सेनाका कालीध्वज गण नागार्जुनका सेनानी सागर थापाले बताए ।
र्यालीमा सहभागी सैनिकहरु पृथ्वीनारायण शाहको समयमा उहाँको फौजले प्रयोग गरेको जस्तै पोषाक र हतियारमा सजिएका छन् । सिंहदरबार परिसरमा रहेको पृथ्वीनारायण शाहको शालिकमा यही पुस २७ मा विशेष कार्यक्रम गरेर र्यालीको समापन गरिने कार्यतालिका रहेको नेपाली सेनाले जनाएको छ । |
कर्णालीका मुख्यमन्त्री शाहीले जाँदाजाँदै सार्वजानिक गरे आफ्नो कार्यकालको बयान सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले जाँदाजाँदै १५ महिने कार्यकालको फेहरिस्ता सुनाएका छन्। उनले यस अवधिका गरेको कामलाई खास उपलब्धी मान्दै कर्णाली सम्वृद्धि अभियानको आधार तयार गरेको दाबी गरे। एक वर्षको अवधिमा १७ किलोमिटर सडक कालोपत्रे गरेको पनि बताए। आज आयोजित कार्यक्रममा उनले ४३५ दिने कार्यकालमा गरेका कामको विवरण सार्वजनिक गरेका हुन्।
उनका अनुसार ११३ किलोमिटर सडक ग्राभेल र ६२२ किलोमिटर कच्ची सडक निर्माण पनि भएको छ। यो अवधिमा १३ वटा झोलुङ्ग पुल, आठ वटा सडक पुल निर्माण सम्पन्न भएका छन्। एक हजार पाँच सय ७१ वटा जनता आवास र एक सय एक वटा विपन्नका घर निर्माण भएको बताए। यस्तै, सात वटा सडक आयोजनालाई वहुवर्षीय ठेक्का सम्झौता गरी निर्माण गर्न अगाडि बढाइएको उनले बताए। |
चितवनमा श्रीमान श्रीमती मृत अवस्थामा फेला काठमाडौं। चितवनमा श्रीमान श्रीमती मृत अवस्थामा फेला परेका छन्।
भरतपूर महानगरपालिका वडा नम्बर २९ स्थित लमजुंगे टोलका २२ वर्षीय प्रेम राना मगर र उनकी श्रीमती २१ वर्षीया शान्ती भन्ने बुद्धीमाया राना मगर आज बिहान आफनै घरमा मृत फेला परेका हुन्।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, श्रीमान आफ्नै घरको कोठाको बलोमा नाईलनको डोरीको पासो लगाई झुण्डीएको अवस्थामा थिए। उनकी श्रीमती घर बाहिर आगनमा रहेको अगेनाको छेउमा मृत अबस्थामा रहेको प्रहरीले जनाएको छ।
मृतक बुद्धीमाया रानाको टाउकोमा चोट रहेको छ। अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। |
केन्द्रलाई गाली गर्दै गण्डकीको मुख्यमन्त्रीबाट बिदा भए पोखरेल पोखरा। सोमबार गण्डकीमा चौंथो सरकार गठन भयो। दुई पटक एमालेका नेता पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा रहेको सरकार पछिल्लो पटक कांग्रेस नेता कृष्ण चन्द्र नेपाली पोखरेलले नेतृत्व गरे।
राजनीतिक समिकरण फेरिएका कारण १५ सीटको कांग्रेस सत्ताको नेतृत्वमा पुगेको हो। माओवादीको सहयोगले सत्तामा पुगेको कांग्रेस अहिले माओवादीकै असहयोगले सत्ताच्युत भएको छ।
पोखरेलले कार्यकालको अन्तिम दिन पत्रकार सम्मेलन गरेर केन्द्र उदार नभएका कारण प्रदेशले सोचेजति काम गर्न नसकेको बताए। जग्गाको स्वामित्व, कर्मचारी समायोजन, प्रहरी समायोजन, वन लगायत विषयमा संघले अधिकार नदिएकै कारण सरकारलाई सकस परेको उनले सुनाए।
‘राजनीतिक रुपमा संघीयता आए पनि वित्तिय र अन्य क्षेत्रमा केन्द्र नै हावी भयो,’ उनले भने, ‘यी कुराहरु जबसम्म केन्द्र सरकारले हामीलाई सहयोग गर्दैन, तबसम्म अगाडि बढ्न गाह्रो हुन्छ।’
उनले आफ्नो नेतृत्वको सरकारले अघिल्लो सरकारले ल्याएका योजनालाई नै प्राथमिकतामा राखेर काम गरेको बताए। ‘यो डेढ वर्षमा हामीले हिजोको सरकारले सुरु गरेका ठूला योजनालाई नै प्राथमिकता दियौं। केही नयाँ योजना नि ल्यायौं,’ उनले भने, ‘कोरोना हाम्रा लागि सबैभन्दा जटिल थियो। त्यसबाट पार पाउन सबैले सहयोग गर्नुभयो र आज प्रदेशको आर्थिक अवस्था खासै विग्रिन पाएन।’
पोखरेलको नेतृत्वमा बनेको सरकारले डेढ वर्षमा १ सय ८ किमी सडक कालोपत्रे, ढलान र १ सय २६ किमी सडक ग्राभेल गरेको तथ्यांक छ। उनले उर्जा, खानेपानी र जलश्रोतको क्षेत्रमा उच्चतम काम गरेको दावी गरे।
गण्डकी प्रदेश सरकार बन्दा २०७४ को फागुन ४ गते नै ५ वर्षभित्र सबै घरमा खानेपानीको पहुँच पुर्याउने घोषणा गरिएको थियो। तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार बाहिरिंदै ९३.१० प्रतिशत घरमा पानी पुगेको थियो भने अहिले ९३.७४ प्रतिशत मात्रै छ। पोखरेल २०७८ जेठ २९ मा मुख्यमन्त्री नियुक्त भएका थिए। |
मिटरब्याजी माथि कारबाही गर्दै प्रशासन जलेश्वर। गृहमन्त्रीको निर्देशनपश्चात जिल्ला प्रशासन कार्यालय महोत्तरीले मिटरब्याजीउपर धमाधम कारबाही प्रक्रिया अगाडि बढाएको छ।
कार्यालयमा हालसम्म दुई सय ३४ मिटरब्याजीसम्बन्धी उजुरी परेको र प्राप्त उजुरीउपरको कारबाही प्रक्रिया द्रुतगतिका साथ अगाडि बढाइएको सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले बताए।
उनले मिटरब्याजसम्बन्धी प्राप्त उजुरीसँग सम्बन्धित व्यक्तिलाई त्यस कार्यालयबाट पत्राचार गर्ने, बोलाउने तथा छलफल गराउने तथा छानबिन प्रक्रियाजस्ता काम–कारबाही अगाडि बढाइएको जानकारी दिए ।
उनले कार्यालयबाट ४९ जनालाई पत्राचार गरिसकिएको र चारवटा मुद्दामा सहमति भएको बताए। त्यस्तै प्राप्त उजुरीमध्ये ३६ मुद्दा प्रक्रियामा अदालतमा गइसकेको र पाँच उजुरीको मुद्दा अदालतमा चलिरहेको अवस्थामा रहेको उनले बताए। बाँकी उजुरीउपर कार्यालयले दुवै पक्ष विपक्षलाई बोलाएर धमाधम काम अगाडि बढाइरहेको जनाइएको छ। |
७४ वर्षीय प्रेमबहादुरको सङ्घर्ष : ६ दशकदेखि घुम्तीगोठमा गाईभैँसी पालन बेनी। धवलागिरि गाउँपालिका-४ मुदीका प्रेमबहादुर घर्तीमगर उमेरले ७४ वर्ष पार गरे। उमेरले बुढ्यौली लागे पनि उहाँको दैनिकी भने घुम्ती गोठमै बित्ने गरेको छ। पुर्ख्यौलीरूपमा गरिंदै आएको घुम्ती गोठ राखेर गाईभैँसीपालन गर्ने पेसालाई घर्तीमगरको परिवारले निरन्तरता दिएका छन्।
छ बहिनी छोरी र दुई भाइ छोरासमेतको पारिवारिक जिम्मेवारीलाई घर्तीमगर र उनकी श्रीमती इनदेवीले घुम्ती गोठ राखेर जीविकोपार्जन गर्दै आएका छन्। हिउँदमा बेँसीका फाँटमा झरेका गाईभैँसीका गोठलाई घर्तीमगर दम्पतीले बर्खायाममा लेकका बुकीसम्मै पुर्याउने गर्छन् । घर्तीमगरको दम्पतीले यसरी गोठमै करिब छ दशक समय बिताइसकेका छन्।
उनीहरूको गोठमा अहिले ३२ भैँसी र २२ वटा गाई छन्। गोठमा रहेका गाइभैँसीमध्ये १२ वटा भैँसी र सातवटा गाई दुहुना छन्। गाईभैँसीको दूधबाट उत्पादन हुने घिउबाट आम्दानी हुने भए पनि गाईभैँसी नै बिक्री भने न्यून हुने गरेको प्रेमबहादुर बताउँछन् । गाईभैँसीको घिउ प्रतिमाना एक हजार २०० मा बिक्री हुने गरेको छ।
‘भूगोल टाढा छ, अनकन्टार जङ्गल, भिर, पहाडसम्मै पुगेर गोठ राख्छौँ, यहाँ गाईभैँसी नै किन्न आउनेको सङ्ख्या कम छ, थोरै मात्रामा राँगा र खेतबारी जोत्ने उद्देश्यले बहर गोरु बिक्री हुन्छन्, दुःखअनुसारको प्रतिफल नभए पनि हामीले गोठाला जीवनलाई निरन्तरता दिएका छौं’, उनले भने।
घर्तीमगरका पुर्खाहरूले समेत गोठ राखेर नै पशुपालन गर्दै आएका थिए। बुवा दलप्रसादले समेत पुर्खाहरूले गर्दै आएको भेडासहित गाईभैँसीपालन गरेका कारण आफूले पुर्खाको पेसालाई निरन्तरता दिएको प्रेमप्रसाद बताउँछन्।
प्रेमप्रसादका ६ भाइ दाजुभाइमध्ये चार परिवारले गाईभैँसी र भेडापालन गरेका थिए । अधिकांशले अहिले पनि घुम्ती गोठ राखेर गाईभैँसीपालन गर्दै आएका छन् ।
हिउँदयाममा लेकबाट मुदी फाँटमा झरेको घुम्ती गोठमा अहिले उनकी दुई छोरीले घर्तीमगरको दम्पतीलाई सारथि बनेर सहयोग गर्दै आएका छन् ।
यहाँका घुम्ती गोठलाई अर्चे, भारबाङ, धुलीबास, तिरिजा, लामठारा, सेतढुङ्गालगायतका ठाउँमा पुर्याउने गरिन्छ । भिर उक्लिएर बुकीसम्म पुग्नुपर्ने घर्तीमगर दम्पतीको दैनिकीमा उकाली-ओराली, अनकन्टार जङ्गलको बास, खोलानाला, बाढी, पहिरो, बर्खाको अविरल वर्षा र हिउँदको हिमपात जीवनमा दोहोरिरहने सङ्घर्षका पाटाहरू हुन् ।
छोराछोरीले गोठालो पेसा छाड्न अनुरोध गरे पनि उहाँहरूको मन भने अझै गोठालो छाडेर घरमा बस्न मानेका छैन । ‘हामीले गोठमै जीवन फाल्यौं, छोराछोरी हुर्कायौं, पढायौं, कोही विदेशसम्म पुगेका छन्, बाबुबाजेले पनि गोठ राखेर जीवन बिताए, हामीले पनि च्याट्ट छोड्न सकेका छैनौं’, प्रेमबहादुरकी पत्नी इनदेवी घर्तीमगरले भने ।
‘मुदीको साहु’को नामले पारिवारिक विरासत बोकेका घर्तीमगरको परिवारले पुख्र्यौलीरूपमा गाईभैँसी र भेडापालनसँगै ठूलो मात्रामा खेतीबालीसमेत गर्ने गर्थे । आफूहरू सानो छँदा बुवाआमाले एक सय मुरीसम्म कोदो उत्पादन गरेको प्रेमबहादुर स्मरण गर्छन् । अहिले पनि पशुपालनसँगै परम्परागत खेतीका रूपमा कोदो, मकै, जौँ, गहुँलगायत खेतीलाई उनको परिवारले निरन्तरता दिएका छन् ।
अध्ययन र रोजगारको सिलसिलामा घर्तीमगर दम्पतीको जेठा छोरा र कान्छी छोरी जापान र कान्छा छोरा चीन पुगेका छन् ।
ठाइली छोरी जगदेवी स्वास्थ्यकर्मी र काइँली कमला शिक्षक हुनुहुन्छ । जेठी, माइली र साइली छोरीले गोठमा बस्नुपरेका कारण अध्ययनको उचित अवसर नभएकाले बुवाआमाकै गोठाला पेसामा आफूलाई समाहित गरेका छन् ।
बुवाआमाले गोठ नछाडेका कारण आफूहरू पनि उहाँहरूकै दैनिकीमा लागेको साइली छोरी छानदेवी बताउँछिन् ।
‘घरमा गोठ भएपछि हामी पनि स्कुल नगएर गोठमै भुल्यौँ, पछि प्रौढ शिक्षामार्फत सामान्य लेखपढमात्रैमा सीमित भयौँ, अहिले बुवाआमासँगै गोठमै गाईभैँसीको स्याहारसुसार र रेखदेख गर्छौ’, उनले भनिन् ।
गाईभैँसीलाई चरनले मात्रै नपुग्ने भएकाले हिउँदयामका लागि खर, सुकेको घाँस र रुखको डाले घाँसको समेत बन्दोबस्त गर्नुपर्ने छानदेवीको भनाइ छ ।
तेह्र वर्षको उमेरदेखि नै गोठ बस्न थाल्नुभएका घर्तीमगर हिजोआज भने गोठालो संस्कृति हराउँदै गएकामा चिन्तित छन् ।
उमेरका कारण गोठमा बस्न सक्ने अवस्था कमजोर बन्दै गएपछि उनले कसैले गोठ किनेर चलाए हुन्थ्यो भन्ने आशामा छन् । ‘पहिले यहाँका हरेक घरबाट गोठमा गाईभैँसी र भेडाबाख्रा पाल्न गोठाला बस्ने चलन थियो, पछिल्लो समय यो प्रचलन हराउँदै गएको छ, अहिले हामी केही हातमा गन्न मिल्नेमात्रै गोठाला छौँ, कसैले गोठ राखेर गाईभैँसीपालन गर्न चाहेमा मैले बिक्री गर्ने योजना बनाएको छु’, उनले भने ।
एकै ठाउँमा मात्रै राखेर पालन नगरिने र घुम्तीरूपमा गोठ सारिरहनुपर्ने भएकाले पनि प्रेमबहादुरलाई गोठालो जीवन सास्तीपूर्ण बन्न थालेको छ ।
घरबाट गोठसम्म खाद्यान्नलगायतका खर्चको भारी ल्याउन जानसमेत कठिन हुन थालेको उनको अनुभव छ ।
पुख्र्यौली पशुपालनलाई व्यावसायीकरण बनाउन नसकेको र परम्परागत र निर्वाहमुखी पशुपालनबाट जीविकोपार्जन हुन नसकेपछि पछिल्लो समय ग्रामीण भेगमा घुम्ती पशुपालनको प्रचलन हराएर जान थालेको छ । |
चितवन महोत्सव सुरु चितवन । चितवनको गौरव र गरिमामय प्रस्तुतीका रूपमा रहेको चितवन महोत्सव आजदेखि सुरु भएको छ । नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा १४औँ संस्करणको ‘चितवन महोत्सव–२०७९’ को बागमती प्रदेश सरकारका निवर्तमान उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मिलनबाबु श्रेष्ठले एक समारोहबीच उद्घाटन गरे ।
कार्यक्रममा भरतपुर पालिका प्रमुख रेनु दाहालले मेला महोत्सवले समग्र जिल्लाको विकासमा सहयोग पुर्याउने बताए। यस्ता मेला महोत्सवले आर्थिक गतिविधि चलायमान हुने उनको भनाइ थियो ।
उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठले पछिल्लो समयमा नेपालमा देखिएको आर्थिक तरलताले उद्योग, व्यवसाय धराशायी बन्दै गएको बताए । उनले भने, “अहिलेको समयमा सरकारले सोच्नुपर्ने हो ।” संसारभर अर्थतन्त्र जटिल बन्दै गएको अवस्थामा सरकार कठोर बन्दै जानुले व्यवसायी समस्यामा परेको उनको भनाइ थियो । राज्यको नीतिगत स्थिरता नहुँदा लगानीको वातावरण बन्न नसकेको उनले बताए ।
आजदेखि सुरु भएर महोत्सव माघ ४ गतेसम्म चल्ने मूल आयोजक समिति संयोजक एवं उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले जानकारी दिए ।
यसपटकको महोत्सवमा कृषि, अटो, मेड इन नेपाल, इलेक्ट्रोनिक र आइटीका छुट्टैछुट्टै परिसर रहेको श्रेष्ठले बताए । विशेषगरी चितवनको आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरण गर्नका लागि यसपटक तोरी र मौरीलाई प्रवद्र्धन गर्नेगरी तोरीबारीसहित मौरीको मस्कट महोत्सवभित्र राखिएको छ ।
महोत्सवमा बगैँचा, कृषि परिसर, पोल्ट्री परिसर, बाल उद्यान, गार्मेन्ट सामग्री सहितका कक्ष रहेका छन् । नेपालमा उत्पादन भएका सामग्रीलाई प्राथमिकताका साथ राखेर तिनीहरूको प्रवर्द्धन र विकासमा १४औँ संस्करणको चितवन महोत्सव अगाडि बढेको अध्यक्ष श्रेष्ठले बताए । दस दिनसम्म चल्ने महोत्सवमा खेलकुद, जलयात्रा, स्वास्थ्य सेवा, आदिवासी जनजातिको वेशभूषा र कलासंस्कृति झल्किने मनोरञ्जनात्मक कार्यक्रम, कृषिउपज प्रदर्शनी र बाल उद्यान राखिएका छन् ।
त्यसैगरी महोत्सवअन्तर्गत नै पुस २८ देखि माघ २ गतेसम्म नारायणगढको क्याम्पाचौरमा फुड फेस्टिभलको आयोजना गरिएको छ । चितवनको कृषि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत जिल्लाको सामाजिक आर्थिक विकासका सम्भावनामा केन्द्रित रही पुस २९ देखि माघ ३ गतेसम्म विज्ञहरुको उपस्थितिमा दैनिक राष्ट्रियस्तरका सेमिनार तथा गोष्ठीहरू सञ्चालन गरिने उद्योग वाणिज्य सङ्घ चितवनका वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठले बताए । महोत्सवमा पाँच लाख दर्शकले अवलोकन गर्ने र रु २५ करोड बराबरको आर्थिक कारोबार हुने आयोजकले अपेक्षा लिएको छ । |
भारतमा भएको बस दुर्घटनामा तीन नेपालीको मृत्यु सुदूरपश्चिम। नेपाली यात्रु चढेको बस गएराति भारतको लखनउ नजिक दुर्घटना भएको छ। ट्रकसँग ठोक्किएर भएको दुर्घटनामा बसमा सवार तीन यात्रुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता बेदप्रकाश जोशीले जानकारी दिए।
मृत्यु हुनेमा टीकापुर नगरपालिका क्षेत्र र आसपासका ५५ वर्षीय चन्द्र साउद, ४५ वर्षीय ललीत साउद र २० वर्षीया निर्मला बोहरा रहेको प्रवक्ता जोशीले बताए। उनले भने, “सीमापारी भारतीय प्रहरी (कोतवाली)ले दिएको सूचनामा यी तीन जनाको मृत्यु भएको प्रारम्भिक खबर आएको छ, घटनाको थप विवरण आउन बाँकी छ।” उक्त दुर्घटनामा अन्य नेपाली यात्रु घाइते भएको हुनसक्ने बताइएको छ।
भारतको गुजरातबाट कैलालीको टीकापुरतर्फ आउँदै गरेको उक्त बस गएराति लखनउदेखि झण्डै ३० किलोमिटर नेपालतर्फको दुरीमा दुर्घटनामा परेको जनाइएको छ। नेपाली यात्रुका लागि भारतका विभिन्न सहरमा आवागमन गर्न सीमापारीबाट भारतीय बस आफूखुसी ढङ्गले चलाउने गरिएको जनाइएको छ। |
अझै जीवित छ तत्कालीन बाइसे चौबिसे राजाले प्रयोग गरेको तोप गलकाेट। बागलुङको जैमिनी नगरपालिकाको तीन वडाको सङ्गमस्थलमा रहेको माइकोस्थान नजिकैको तल्लो डाँडामा सानो सत्तलसँगै ढुङ्गाले छाएको मन्दिर छ।
मन्दिरको भित्र बाइसे चौबिसे राजाको पालामा प्रयोग गरेको हतियार तोपको मुख्य भाग राखिएको छ। भुरे टाकुरे राजाहरुले तत्कालीन अवस्थामा राज्य गरेको स्थानमा रहेको तोप सङ्कटमा परेको छ।
जिल्लाको सबैभन्दा ठूलो राज्य रहेको तत्कालीन गलकोटे राजाहरुसँग लडाइँपश्चात् राज्य एकीकरण गरिएको भन्ने स्थानमा अहिले मन्दिरसँगै तोप रहे पनि संरक्षण हुन नसकेको स्थानीयको गुनासो रहेको छ।
कोतमा राखिएको तोप संरक्षण अभावमा केही भाग विसं २०३० मा खेतमा भेटिएपछि स्थानीयले पुनः बोकेर कोतमा लिएर राखेको स्थानीयले बताएका छन्। जैमिनी –१० राङ्खानी, वडा–४ सर्कुवा र वडा–७ जैदीको सङ्गमस्थलमा रहेको १८ औँ सताब्दीमा स्थापना गरिएको थन्थाप माइको मन्दिरमुनिको डाँडामा रहेको कोत घर र कोतघरमा रहेको तोप संरक्षणको पर्खाइमा रहेको स्थानीय नरवीर थापाले बताए।
“कोतमा भुरे टाकुरे राजाहरुले प्रयोग गरेको तोप छ भन्दा अचम्म हुन्छ, तर अहिले तोकपको केही कोत मन्दिरभित्र गाडिएको अवस्थामा छ, तोपको केही भाग बाहिरै छ”, उनले भने, “पुरानो सत्तल स्थानीयको पहलमा मर्मतसम्भार गरिएको छ, पुरातत्व विभागले अनुसन्धान गरेपछि तोप संरक्षणमा कुनै चासो दिएन, तोपलाई संरक्षण गरेर प्रदर्शन गर्नसके धार्मिक पर्यटक भित्रन सक्नेछन्, नगरपालिकाले चासो दिनुपर्दछ।”
मन्दिर क्षेत्र धार्मिक आस्था र विश्वासले मात्रै होइन, ऐतिहासिक तथा सांस्कृतिक दृष्टिले पनि महत्वपूर्ण भए पनि तोप हराउने सम्भावना उत्तिकै छ। स्थानीयले तोप हराउने भएकाले गाडेर राखेका हुन् । थन्थाप माई मन्दिरदेखि एक किलोमिटर दूरीमा रहेको ऐतिहासिक कोत भवन संरक्षणको अभावमा भताभुङ्गजस्तै भएको छ।
तत्कालीन भुरेटाकुरे राजाले आफ्नो सुरक्षाको लागि तयार गरेको गढी क्षेत्रको संरक्षण नहुँदा भग्नावशेषको रुपमा परिणत भएको हो। तत्कालीन राजाले आफ्नो दरबार, हतियार भण्डारण, विश्रमस्थल, रानीको सयन कक्ष तथा पूजास्थल, चौपारी, सेनाले पहरा दिने संरचना कतै पूर्णरुपले भत्किएको तथा कतै आधा पुरिँदा पहिचान गर्न नसक्ने अवस्थामा पुगेको स्थानीय टिकाराम आचार्यले जानकारी दिए। उनले कोतघर वरपर विभिन्न आकारका पर्खाल, सिँढी, ओखाललगायतका संरचना झाडीले पुरेर रुख उम्रेको उनको भनाइ छ।
“यस क्षेत्रलाई संरक्षण गर्ने, उत्खनन गर्ने र केही जानकारीसहितको सूचना बोर्ड स्थापना गर्नेलगायतको कार्यका लागि नगरपालिकाले तगारुकता देखाउन सके पर्यटक आउन सक्ने छन्”, उनले भने, “कुनै सानो कुराको प्रचारप्रसार भएको देखिन्छ, यहाँ बाइसे चौबिसे राजाहरुले पड्काएको तोप जीवित छ, त्यही तोप कहिले हराउने हो पत्तो छैन, यहाँका महत्वपूर्ण सामाग्रीहरु हराई सकेको अनुमान छ, राज्यले संरक्षणमा लगानी गरे कोतघरलाई पुरानैस्वरुपमा जीर्णोद्धार गर्न सकिन्छ।”
त्यो समयमा सत्रु पक्षबाट बच्नको लागि सेनाले प्रयोग गरेको एक थान तोपको अवशेषमात्र कोत मन्दिरमा सुरक्षित गरेर राखिएको छ। तोपको नाल र पछाडिको भागलाई मन्दिर निर्माण गरी सुरक्षा गरेको कोत मन्दिर व्यवस्थापन समितिका सचिव प्रेम थापाले जानकारी दिए।
थन्थापमाईको क्षेत्रको डोका, देउराली, गुरुङकोट क्षेत्रमा तत्कालिन सेनाले निर्माण गरेका बङ्कर केही पुरिएको तथा केही आधा पुरिएको अवस्थामा छन्। सेनाले ओतको लागि निर्माण गरेका सत्तलको भङ्गावशेष देख्न सकिने सचिव थापाको भनाइ छ। ऐतिहासिक गढी क्षेत्रको संरक्षणमा राज्यले चासो नदिँदा प्राचीनकालका मौलिक सामग्री मासिँदै गएको स्थानीयको गुनासो छ।
तोपको पाङ्ग्रा र त्यसलाई बाँधिने साङ्लासमेत चोरी भइसकेकाले तत्कालै संरक्षणको पहल गर्नुपर्ने सचिव थापाको भनाइ छ। राजाले दरबार वरिपरि खेती गर्दै आएको जग्गामा कालोपाती, औसेलुलगायतका बिरुवाको झाडी बनेको छ । दरबार, चौपारी जीर्ण भएका छन्। दरबार क्षेत्रदेखि करिब एक सय मिटर पूर्वपट्टि रानीले घाम ताप्दै कपाल कोर्न गरेकोे चट्टान जसलाई स्थानीय रानीले कपाल कोर्ने ढुङ्गाको नामले पहिचान समेत गरिएको छ।
तीन वर्षअघि गण्डकी प्रदेश सरकारले रु साढे छ लाख र वडा कार्यालयको रु दुई लाख लागतमा सडक मार्गदेखि कोत भवन पुग्ने पक्की पदमार्ग र कोत क्षेत्रको तारबार गरेको भए पनि मुख्य कामजस्तै उत्खनन, सूचना बोर्ड र जीर्णोद्धार गर्न बाँकी रहेको सचिव थापाको भनाइ छ। कोतमा बडादसैं र चैतेदसैँमा विशेप पूजा हुन्छ। उक्त क्षेत्रमा खानेपानी तारवार, झाडी सफा, पहुँचमार्ग विस्तार, ऐतिहासिक गढीे संरचनाको पुनःनिर्माण, सूचनामूलक बोर्ड तथा उत्खनन्को काम बाँकी छन्।
गढी क्षेत्रको संरक्षण, पुनःनिर्माण, उत्थनन्को लागि राज्यले विशेष ध्यान दिनसके पर्यटनको विकास हुनुका साथै इतिहासको अध्ययनस्थलको रुपमा विकास गर्न सकिने जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताए।
उनले नगरपालिकाले पर्यटन प्रवद्र्धनका लागि ल्याएको योजना त्यही कोत मन्दिर र थन्थापमाईको मन्दिर संरक्षण र जीर्णोद्वारमा केन्द्रित हुने बताए। रासस |
निमित्त प्रशासकीय र लेखापालले गाउँपालिकामा पाइलानटेकी पाँच महिनाको तलब खाए सुर्खेत। गाउँपालिकामा पाँच महिनासम्म पाइला नै नटेकी हुम्लाको अदानचुली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मेघनाथ शाही र लेखापाल दत्तबहादुर थापाले सुर्खेतबाट पाँच महिनाको तलब भत्ता खाएका छन्।
शाही र थापा गत साउन ३१ पछि गत बिहीबार मात्र कार्यालय उपस्थित भएका थिए। कार्यालय नआई तलब–भत्ता बुझेकाद्वय झन्डै पाँच महिनापछि हाजिर लगाउन पुगेका थिए।
गाउँपालिकाका उपाध्यक्ष कर्ण रोकाय र केही वडाध्यक्षले हाजिरी लगाउन नदिएको बताएका छन्। उनीसँगै नयाँ नियुक्ति लिएका चार स्थायी कर्मचारीले समेत हाजिरी लगाउन नपाएको गाउँपालिकाका उपाध्यक्ष रोकायले बताए।
साउन महिनामा निमित्त प्रमुख प्रशासकीय अधिकृत टंकदत्त प्याकुरेलमाथि भ्रष्टाचार अभियोग लागेपछि गाउँपालिका अध्यक्ष मोहनविक्रम सिंहले आफूनिकट मेगनाथ शाहीलाई साउन २ गते निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिलाएका थिए।
साउन २९ मा गाउँपालिकाका उपाध्यक्ष रोकायको अध्यक्षता बसेको कार्यपालिका बैठकले गाउँपालिकाको कामकाजमा बाधा परेको भन्दै रोकाया निकट स्वास्थ्य संयोजक हंश महतारालाई निमित्त प्रमुख प्रशासकीय अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको थियो।
अध्यक्ष सिंहले नियुक्ति दिलाएर ल्याएका शाहीले अध्यक्ष सिंहसँग सुर्खेत बसेर करोडौं रकम हिनामिना गरेको गाउँपालिका उपाध्यक्ष रोकायले आरोप लगाउदै सुर्खेत स्थित अक्तियारमा उजुरी समेत दिएका छन्।
पालिका नै अपहरण परेको भन्दै उपाध्यक्ष रोकायले अख्तियारमा उजुरी दिएपछि निमित्त प्रमुख प्रशासकीय अधिकृत शाही र लेखापाल थापा बिहीबार अदानचुली गाउँपालिका पुगेका थिए। तर, उपाध्यक्ष रोकाया पक्षले उनीहरूलाई हाजिरी लगाउन नदिएपछि विवाद भारी चलिएको छ।
गाउँपालिका अध्यक्ष सिंह नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् भने उपाध्यक्ष रोकाय माओवादी केन्द्रबाट निर्वाचित भएका हुन्। |
नागरिकता कीर्ते गरेको आरोपमा डाक्नेश्वरी –२ का वडाध्यक्ष पक्राउ सप्तरी । सरकारी कागज कीर्ते तथा नागरिकता कीर्ते गरेको आरोपमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–२ का वडाध्यक्ष रहमान मियाँ आज कारागारमा थुनामा पुगेका छन् ।
सरकारी लिखतसम्बन्धी कसुर र कीत्र्ते नागरिकता बनाएको आरोप लागेका ६३ वर्षीय वडाध्यक्ष मियाँ पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा पुगेको अदालतका सूचना अधिकारी भरतमणि पोखरेलले बताए ।
उनीमाथि मृत्यु भइसकेका, उमेर नपुगेकाको नागरिकतामा केरमेट तथा भारतीय नागरिकको नक्कली नेपाली नागरिकता बनाई वर्षौँदेखि सामाजिक सुरक्षाभत्ता अपचलन गरेको आरोप छ । मुद्दा विचाराधीन रहेकै अवस्थामा मियाँ दोस्रोपटक गत स्थानीय तह निर्वाचनमा वडाध्यक्ष पदमा निर्वाचित भएका थिए ।
आव २०७४/०७५ देखि २०७७/०७८ सम्म ७८ जनाको नाममा कीत्र्ते कागजात पेस गरी सामाजिक सुरक्षा भत्ता बुझ्दै आएको आरोपमा वडाध्यक्ष मियाँसहित २१ जनामाथि सप्तरी जिल्ला अदालतमा मुद्दा चलिरहेको छ । यो प्रकरणमा रु ८३ लाखभन्दा बढी सामाजिक सुरक्षा भत्ता रकम हिनामिना भएको जनाइएको छ । यो घटनामा वडाध्यक्ष मियाँसहित २१ जनालाई प्रतिवादी बनाएर २०७७ असोज २२ गते मुद्दा दर्ता भएको छ ।
मियाँसमेत २१ जनाले एकआपसमा मिलेमतो गरी एक अर्कालाई फाइदा पु¥याउने उद्देश्यले सो काम गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले बताए । राज्यकोषबाट लक्षित वर्गका लागि सुविधा पु¥याउन सामाजिक सुरक्षा भत्ता वितरणमा सरकारी कागज र छाप कीत्र्ते गरी एउटै व्यक्तिको नाममा दुई वटा नागरिकता नम्बरसमेत प्रचलनमा ल्याएको प्रनाउ सिंहले बताए ।
सामाजिक सुरक्षा भत्ता निकासा गरी सरकारी रु ८३ लाख ४१ हजार एक सय आठ हिनामिना गरी सरकारी कागज कीत्र्ते तथा नागरिकता कीत्र्ते गरेको आरोपमा फरार सूचीमा रहेका मियाँ गत बिहीबार पक्राउ परेका थिए । सो मुद्दामा तत्कालै पक्राउ परेका तत्कालीन वडा सचिव विनोदकुमार ठाकुर अदालतको आदेशमा पुर्पक्षका लागि कारागारमा थुनामा छन् । |
ठुलिभेरी नगरपालिकाको केन्द्र जुफाल कायम डोल्पा । डोल्पाको ठुलिभेरी नगरपालिकाको केन्द्र जुफाल कायम भएको छ । आइतबार सर्वोच्च अदालतले दुनै पक्षबाट परेको रिट खारेज गर्दै नगरपालिकाको केन्द्र जुफाल कायम भएको फैसला गरेको हो ।
सदरमुकाम दुनै रहेको नगरपालिकाको केन्द्र तत्कालीन नगर प्रमुख गणेश शाहीले जालसाजी गरेर जुफाल सारेको भन्दै २०७४ साल चैत्र ५ गते सर्वोच्च अदालमा तत्कालीन उपप्रमुख योगेन्द्र बहादुर शाहीसहित तीन जनाले रिट दायर गरेका थिए ।
अदालतले नगरपालिकाको केन्द्र जुफाल कायम गरेपछि जुफालका जनप्रतिनिधि तथा स्थानीयले ऐतिहासिक दिन भन्दै खुशीयालीसमेत मनाएका छन्। पहिलो कार्यकालभरीनै ठुलिभेरी नगरपालिका केन्द्र विवादमा अल्झिएको थियो। |
गण्डकी प्रदेशमा अब ९ वटा मात्रै मन्त्रालय पोखरा । ७ बाट ११ हुँदै १२ मन्त्रालय बनाइएको गण्डकी प्रदेशमा अबको नेतृत्वलाई मन्त्रालय घटाउनै पर्ने दवाव छ । सरकारको कामको हिसावमा मन्त्रालयको संख्या अस्वभाविक देखिएपछि प्रदेश संरचनामाथी नै प्रश्न उठेको छ ।
अब बन्ने सरकारले मन्त्रालयको संख्यालाई प्रमुख प्राथमिकता दिनैपर्ने बाध्यता छ । पहिलो दल कांग्रेस प्रतिपक्षमा रहने पक्का भएसँगै एमाले, माओवादी र राप्रपाको गठजोडबाट गण्डकीमा सरकार गठन हुँदै छ । सम्भवतः एमाले नेता खगराज अधिकारी गण्डकीको तेश्रो ९व्यक्तिका हिसावले० मुख्यमन्त्री बन्ने छन् । तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ २ पटक र कृष्णचन्द्र नेपाली पोखरेल एक पटक मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
नयाँ सत्ताको गठबन्धन भित्र मन्त्रालय मर्ज गर्ने विषयमा प्रमुखताका साथ छलफल चलिरहेको माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले बताए । ‘९ मन्त्रालय बनाएर जाने कुरामा छलफल भैरहेको छ,’ उनले भने, ‘कुरा टुंगिएको छैन । मन्त्रालय घटाउन सबै सहमत हुनुहुन्छ ।’
एमाले सांसद रोशन गाहा थापा पनि मन्त्रालय धेरै नबनाउन सुझाव दिएको बताउँछन् । ‘मैले पनि सरकारलाई सफल बनाउन मन्त्रालय कम गर्नुपर्छ भनेको छु । साथीहरुले पनि सोही सुझाव दिनुभएको छ,’ उनले भने, ‘सम्भवतः ९ वटा मात्रै मन्त्रालय रहन्छ होला ।’ यद्यपी गठबन्धन भित्र भागबण्डा नमिल्दा १० वटासम्म हुन सक्ने बताइएको छ ।
सुरुमा ७ मन्त्रालय रहेको गण्डकीमा तत्कालीन मुख्यमन्त्री पिएसले नै फुटाएर ११ पुर्याएका हुन् । मन्त्रालय संख्या बढाएपनि उनको कार्यकालमा ८ मात्रै मन्त्री नियुक्त गरिएका थिए । पछि पोखरेल सरकार आएपछि मन्त्रालय अझै फुटाएर १२ पु¥याइएको हो । संविधान अनुसार गण्डकीमा १२ जना मन्त्री बन्न पाउँछन् । |
बुटवल बेलबासमा अक्सिजन सुविधासहितको स्वास्थ्य केन्द्र बन्ने बुटवल । बुटवलमा अक्सिजन सुविधासहितको स्वास्थ्य केन्द्र बन्ने भएको छ । बुटवल उपमहानगरपालिका वडा नं १३ बेलबासमा १६ शैयाको अक्सिजन सुविधासहितको स्वास्थ्य केन्द्रको आइतबार शिलान्यास गरिएको छ ।
आइतबार बेलबासस्थित वडा कार्यालय परिसरमा बन्ने स्वास्थ्य केन्द्र भवनको बुटवलका नगरप्रमुख खेलराज पाण्डेयले शिलान्यास गरे । भवनको शिलान्यास गर्दै उनले तिनाउ नदीदेखि पश्चिमको भेगको समान विकास र समान सुविधाका लागि बेलबासमा स्वास्थ्य केन्द्र निर्माण गर्न लागिएको बताए ।
उनले यो स्वास्थ्य केन्द्रमा तिनाउ नदी पश्चिमका बासिन्दाले लाभ लिन सक्ने बताउँदै त्यसका लागि बुटवल उपमहानगरले सुविधा र जनशक्ति विस्तार गर्दै जाने बताए । ‘तिनाउभन्दा पश्चिमको बुटवल र तिनाउ पूर्वको बुटवललाई समान हैसियतमा पु¥याउनुपर्ने छ’, उनले भने ।
नगरप्रमुख पाण्डेयले स्वास्थ्य केन्द्र भवनको निर्माण सम्पन्न भएपछि बुटवल उपमहानगरपालिकाले आवश्यक जनशक्ति र सुविधा उपलब्ध गराउने गरी तयारी गरेको बताए ।
निर्माण व्यवसायीले असार मसान्तभित्रै निर्माण सम्पन्न गर्ने विश्वास व्यक्त गर्दै नगर प्रमुख पाण्डेयले साउनदेखि अस्पतालका रुपमा सञ्चालन गर्ने बताए । बुटवल उपमहानगरपालिकाका जनस्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले एशियाली विकास बैंकमार्फत जापान सरकारको अनुदानमा १ करोड ५७ लाख लागत अनुमान गरिएको बताए ।
स्वास्थ्य केन्द्रको भवन निर्माणका लागि गत मंसिर ९ मा टेण्डर स्वीकृत भएको निर्माण पक्षले असार मसान्तभित्रै निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएको जनस्वास्थ्य शाखा प्रमुख पाण्डेले बताए ।
स्वास्थ्य केन्द्रमा नर्स, प्यारामेडिक्ससहितका स्वास्थ्यकर्मीहरु रहने र सामान्यदेखि अक्सिजन दिएर उपचार गर्नेसम्मका उपचार हुने जनस्वास्थ्य शाखा प्रमुख पाण्डेले बताए । तीन कठ्ठा जग्गामा बन्ने स्वास्थ्य केन्द्रको जनशक्ति तथा आवश्यक पूर्वाधार व्यवस्थापन बुटवल उपमहानगरले गर्ने उनले बताए ।
बुटवल १३ का अध्यक्ष नारायण पुनले स्वास्थ्य केन्द्र निर्माणले तिनाउ नदी पश्चिमको भेगमा सहज सुविधा उपलब्ध हुने बताए । उनले अस्पतालको विस्तार तथा क्षमता वृद्धिका लागि पनि आवश्यक जग्गा व्यवस्थापन गरेको बताए । |
विद्यालयको लापरबाहीका कारण छात्राको मृत्य, दर्जनौँ राउण्ड हवाइ फायर(तस्बिरहरु) सिरहा । सिरहाको एक निजी विद्यालयको लापरबाहीका कारण छात्राको मृत्यु भएको छ । महिनावारीका कारण पेट दुखेपछि छात्राले औषधि सेवन गर्ने क्रममा पानीको सट्टा स्प्रिट खाँदा छात्राको ज्यान गएको प्रहरीले जनाएको छ । खानेपानीको बोतलमा रहेको स्प्रीट पिउँदा छात्राको मृत्यु भएको हो ।
मिर्चैयास्थित सगरमाथा हायर सेकेन्ड्री स्कूलमा अध्ययनरत सिरहा नगरपालिका–११ पदमपुरका धर्मेन्द्र महराको १६ वर्षीया छोरी सृजना कुमारी महराको मृत्यु भएको हो । पेट दुखेपछि औषधि सेवन गर्नेक्रममा स्प्रिट खाएकी उनलाई उपचारका लागि अस्पताल लगिएको थियो । तर, उपचारकै क्रममा शनिबार राति उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
महिनावारीका कारण पेट दुखेपछि सृजनाले शुक्रबार स्कूलकै एक शिक्षिकाले दिएको औषधि सेवन गर्ने क्रममा पानीको सट्टा स्प्रिट र्पिएकी हुन् । तर, पानी भनेर स्प्रिट पिएकी उनलाई उपचारका लागि अस्पताल लैजानुको सट्टा विद्यालयका संस्थापक तथा प्रिन्सिपल प्रदिप तिवारी केही भएको छैन भन्दै घर पु¥याइदिएको पीडित परिवारको आरोप छ ।
‘सृजनाले पानीको सट्ट थोरै स्प्रिट खाएकोले नसा लागेको छ, केहीबेर सुतेपछि ठिक भइहाल्छ’ भन्दै सृजनालाई घरमा छाडिदिएर प्रिन्सिपल तिवारी फर्किएको लेसृजनाका बुबा धर्मेन्द्र महराले बताए। उनले भने, ‘तिवारी सरले थोरै स्प्रिट खाएको भनेपछि हामीले पनि विश्वास गर्यौँ । विस्तारै अवस्था असहज बन्दै गएपछि अस्पताल पु¥यायौँ । तर, अस्पताल लैजाँदा ढिलो भइसकेको रहेछ । शिक्षकको विश्वासमा पर्दा छोरी गुमाउनु पर्यो ।’
मृतकको परिवारले संस्थापकसहित चार जनाविरुद्ध किटानी उजुरी दिएपछि प्रहरीले दुई जनालाई प्रकाउ गरेको छ । सागरमाथा हायर सेकेन्डरी बोर्डिङ स्कुलका संस्थापक तथा प्रिन्सिपल प्रदिप तिवारी र सोही विद्यालयमा कार्यरत शिक्षिका अम्बिका लम्साललाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यता आक्रोशित विद्यार्थीले बिहानैदेखि पूर्वपश्चिम राजमार्गअन्तर्गत मिर्चैया बजार क्षेत्रमा सडक जाम गरिरहेको छन् । जाम खुलाउने क्रममा भएको झडपमा इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी हरिबहादुर ओलीसहित सात जना सुरक्षाकर्मी घाइते भएका छन् । घाइतेमध्ये प्रहरी असई सुरेन्द्र यादवको थप उपचारको लागि काठमाडौं लागिएको र बाँकी समान्य घाइते भएकाले उनीहरुको स्थानीय मङ्गलम अस्पतालमा उपचार भइरहेकोे डीएसपी ओलीले जानकारी दिए।
प्रहरीले आन्दोलनमा विद्यार्थीभन्दा अन्यको घुसपैठ भएको आरोप लगाएको छ। उनीहरुले आन्दोलनलाई उत्तेजित बनाउने काम गरिरहेको र पेट्रोल बमसहित ढुङ्गामुडा गरेको प्रहरीको भनाइ छ।
सडक जाम खुलाउन प्रहरीले दर्जनौँ राउण्ड हवाइ फायर र आशुग्यास प्रहार गरेको छ ।
|
लालबहादुर विश्वकर्माको न्यायका लागि इटहरीवासी संघर्ष सडकदेखि उच्च अदालतसम्म विराटनगर। आफ्नै साहुबाट ठगीमा परी कारागार चलान भएका सुनसरी इटहरी-२० तरहराका गोपाल भनिने लालबहादुर विकलाई न्याय माग्दै इटहरी चौकमा स्थानीय र आफन्तले सडक प्रदर्शन गर्दै आएका छन्।
लालबहादुर विक निर्दोष रहेको भन्दै जिल्ला अदालतको फैसलाविरुद्ध उनीहरू सडकमा उत्रिएका हुन्। न्याय नपाए अदालत जाने नेपालको कानुनलाई समेत बेवास्ता गरी उनीहरू सडकमा आउन बाध्य थिए। कारण थियो, जुन निकायले न्याय दिने आश गरिएको हुन्छ, त्यही निकायले नै अन्यायमा पारेपछि सडक संर्घषमा उत्रिए।
गत बिहीबार सडकमा उनीहरूले लालबहादुर निर्दोष हुन्, पीडितलाई न्याय देऊ लगायतका नारा लगाए। प्रदर्शनमा पीडित लालबहादुरका ७० वर्षीय बुबा आमा, उनकी श्रीमती समेत सहभागी थिए।
पीडित लालबहादुरका बुबा हर्कबहादुर विश्वकर्माले छोरामाथिको अन्यायले आफू मर्नु न बाँच्नु भएको पीडा सुनाए। उनले जसरी भए पनि आफ्नो छोरालाई कारागारबाट छुटाउन अनुरोध गरे।
‘घरमा हातमुख जोर्न समेत नसक्ने अवस्था छ। कहाँबाट ल्याँउ त्यत्रो तीन करोड ?’ हर्क बहादुरले भने, ‘सबैले अन्याय भएको जान्दाजान्दै आफ्नो निर्दोष छोरा जेल गएको छ। छुटाइदिनु होला।’
सहभागी सामाजिक अभियन्ता गोमा तामाङले लालबहादुरको फैसला उच्च अदालत विराटनगरले उल्टाउनुपर्ने तर्क राखिन्। उनले न्यायालयले पीडितलाई न्याय दिनुको सट्टा अन्याय गरेको टिप्पणी गरिन्।
‘कारागारमा रहेका विश्वकर्मालाई न्याय उच्च अदालतले दिनपर्छ,’ उनले भनिन्, ‘उजुरीवालाले समेत निर्दोष भएको दाबी गरिरहँदा न्यायाधीशले पीडितको उठिबास हुने गरी फैसला गरेको छ। अब न्याय माग्न कहाँ जाने? ‘ प्रदर्शनमा सहभागी धेरैले अदालतले गरेको फैसला उच्च अदालत विराटनगरले उल्टाउनुपर्ने माग राखेका थिए।
विश्वकर्मालाई सवा तीन करोडको बिगो
गोपाल भनिने लालबहादुर विश्वकर्मा सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर २० ब्रह्मपुरमा बस्छन्। गरिब परिवारका लालबहादुर १० वर्ष अघि खाडी मुलुक दुबई बसेर नेपाल आएका थिए। आएलगत्तै विवाह गरे।
उनले विदेश नजाने भन्दै चिनेजानेकै पसलमा काम गर्न थाले। लालबहादुरको घर र उनले काम गर्ने पसल करिब ३ किलोमिटर दूरीमा पर्छ। मासिक साढे २० हजार पारिश्रमिक लिएर काम गरे।
उनले काम गर्ने सुन पसलका सञ्चालक हुन्, इटहरीका दीपक विश्वकर्मा गजमेर। दीपककाे सिंहदेवी ज्वेलर्सबाहेक मनी ट्रान्सफर, सपिङ सेन्टर पनि थियो। तर, योबाहेक पनि दीपकको अर्को ठूलो आर्थिक अवैध धन्दा थियो।
उनले पसलमा आउने धेरैलाई तथा अन्य मानिसहरूलाई राम्रो ब्याज दिने भन्दै पैसा उठाउने गर्थे। उनले पास बुक नै बनाएर बचतका नाममा करोडौँ रकम उठाएका थिए।
दीपकले सञ्चालन गरेको सुन पसलमा उनका बुबा कृष्ण, भाइ कमल, दिदी सीता पनि काम गर्थिन्। दीपकले उनीहरू सबैलाई त्यसै गरी पास बुक बनाएर पैसा उठाउने कार्यमा संलग्न गराएका थिए।
दीपकका बाबु कृष्ण विश्वकर्मा पढ्न लेख्न जान्दैनथे। पसलमा छोराछोरी नभएको समयमा कृष्णले पैसा बुझ्ने र पास बुकमा लेख्ने काम लालबहादुरलाई लगाउने गर्थे।
समय बित्दै गयो। यसैगरी दीपकले करोडौँ रकम उठाए। तर, ब्याजको आशले पैसा दिएकाहरूले ब्याज त परको कुरा सावाँ पनि फिर्ता पाएनन्। जति रकम जम्मा गरे पनि आजसम्म जम्मा गरेका व्यक्तिले कुनै रकम पाएका छैनन्।
आफ्नो पैसा नउठ्ने संकेत पाएपछि पीडितहरू प्रहरी गुहार्न पुगे। पीडितहरूको जाहेरीपछि प्रहरीले कृष्ण विश्वकर्मा, दीपक विश्वकर्मा, सीता विश्वकर्मालाई पक्राउ गर्यो। सोही क्रममा लालबहादुर पनि पक्राउ परे। आरोपीमध्ये कमल विश्वकर्मा भने अहिले पनि फरार छन्। कमल दीपकका भाइ हुन्।
पक्राउ पर्दासम्म लालबहादुरले आफूमाथि के भइरहेको छ भन्ने सामान्य थाहा पनि थिएन। त्यसपछि पक्राउ परेका चारै जना विरुद्ध इजाजत बिना वित्तीय कारोबार गरेको मुद्दा चल्यो।
उनीहरू विरुद्ध जाहेरी दिएका २२१ जना र प्रहरी प्रतिवेदनमा उल्लेख भएका ५४ जना गरी जम्मा २७५ जनाको रकम हिनामिना गरेको आरोप लागेको थियो। ३० दिन हिरासतमा बसेपछि अदालतले लालबहादुरलाई सामान्य तारिखमा छाड्न आदेश दिएको थियो । उनलाई लागेको थियो कि आफूले गल्ती गरेको छैन र सजाए पनि भोग्न पर्दैन।
तर, उनले सोचेजस्तो भएन। एक वर्षअघि गत २०७८ सालमा पुसमा उक्त मुद्दाको फैसला आयो। जसले उनको सातो उडायो । परिवारसमेत आलाप विलाप गर्न थाले। अदालतले उनलाई पनि दोषी करार गर्दै ३ करोड १४ लाख ११ हजार रुपैयाँ जरिवाना र डेढ वर्षको कैद सजाय सुनायो।
उक्त फैसलामा दीपक विश्वकर्माले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को दफा १०३ को उपदफा १ को ‘क’ सम्बन्धी कसुर अर्थात् इजाजत नलिई बैंक तथा वित्तीय कारोबार गरेको आरोपमा सोही ऐनको दफा १०४ को उपदफा १ को देहाय ‘क’ बमोजिम तीन वर्ष कैद र १८ करोड ८४ लाख ६६ हजार ८ सय ८९ रुपैयाँ जरिवाना सुनाइयो। त्यसको आधा रकम मुख्य दोषी ठहरिएका दीपकलाई पर्याे।
त्यस्तै अन्य प्रतिवादी सीता विश्वकर्मा, कृष्णबहादुर विश्वकर्मा गजमेर, र गोपाल भनिने लालबहादुर विश्वकर्मालाई सोही दफा अनुसार जनही १ वर्ष ६ महिना कैद र नौ करोड ४२ लाख ३३ हजार ४ सय ४४ रुपैयाँ दामासाहीले जरिबानाको सजाय गर्नु भन्ने फैसला भयो। उक्त रकम तीन जनामा भाग लगाउँदा ३ करोड १४ लाख ११ हजार रुपैयाँ पर्न आउँछ।
तर, उनी विरुद्ध जाहेरी दिनेहरूले लालबहादुरको यसमा संलग्नता नरहेको र आफूहरूको पैसा उनले हिनामिना नगरेको बकपत्र गरेका छन्। त्यस्तै सञ्चालकहरूले समेत लालबहादुरको यसमा संलग्नता नरहेको बयान दिएका छन्। जाहेरी दिने र मुख्य आरोपीले समेत लालबहादुरको संलग्नता नरहेको बताएका छन्।
प्रहरीले अनुसन्धानको क्रममा पसलमा रहेका बेला पास बुकमा लेख्नेबाहेक लालबहादुरको अन्य संलग्नता पुष्टि गर्न सकेको छैन। तर, जिल्ला अदालत सुनसरीका न्यायाधीश निर्मला योङयाले गरेको फैसलामा लालबहादुरले करिब सवा तीन करोड रुपैयाँ तिर्नुपर्ने उल्लेख छ।
यसले लालबहादुरको परिवारमा ठूलो बज्रपात पारेको छ। उनी एक महिनादेखि जिल्ला कारागार कार्यालय झुम्कामा कैद भुक्तान गरिरहेका छन्। उनले आफू अन्यायमा परेको भन्दै जिल्ला अदालतविरुद्ध उच्च अदालत विराटनगरमा रिट निवेदन दिएका छन्। उक्त रिट निवेदन २६ पुसमा पेसी चढ्दै छ। |
खानेपानीमा मापदण्डभन्दा बढी आइरन भरतपुर। माडी नगरपालिकाका चार खानेपानी आयोजनामा आवश्यकताभन्दा बढी आइरनको मात्रा देखिएको छ। सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना भरतपुरको पानी परीक्षण प्रयोगशालाको टोलीले पानीको परीक्षण गर्दा सो पहिचान भएको हो।
टोलीले यही पुस १८ देखि २० गतेसम्म माडीको चार खानेपानी आयोजनामा खानेपानी परीक्षण गरेको थियो। डिप बोरिङबाट निकालेको पानीमा मापदण्डभन्दा बढी आइरन भेटिएको हो।
गर्दी खानेपानी आयोजना, बघौडा खानेपानी आयोजना, कल्याणपुर खानेपानी आयोजना र खरकट्टा खानेपानी आयोजनामा धमिलोपना र आइरन देखिएको पानी प्रयोगशालाका केमिष्ट योगेन्द्रनारायण देवले बताए। “राष्ट्रिय खानेपानी गुणस्तर मापदण्डले प्रतिलिटर खानेपानीमा बढीमा शून्य दशमलव तीन एमजी आइरन हुनुपर्ने मापदण्ड छ”, उनले भने, “माडीका चारवटा आयोजनामा भने प्रतिलिटर शून्य दशमलव पाँच एमजी आइरन भेटिएको छ, जुन हानीकारक मानिन्छ।”
थोरै मात्राको आइरनले स्वास्थ्यलाई ठिक गर्ने भएता पनि बढी मात्राले स्वास्थ्यलगायतका विभिन्न कुरामा असर गर्ने देवले बताए। आइरन बढी हुँदा पानीको रङ परिवर्तन हुने, स्वाद परिवर्तन हुने, गन्ध आउने, नुहाउँदा कपाल झर्ने, सेतो कपडामा विस्तारै पहेँलो दाग बस्दै जाने हुन्छ। आयोजनाले अहिले फिल्टर नै नगरी पानी वितरण गर्ने गरेकाले उक्त समस्या देखिएको हो। विसं २०७२ को भूकम्पपछि प्राकृतिक पानीको गुणस्तर परिवर्तन भएको केमिष्ट देव बताए। – रासस |
लिफ्टिङ खानेपानी योजना शिलान्यास खोटाङ। खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा साप्सु खोलाको पानी गाउँमा निकालेर वितरण गर्नेगरी लिफ्टिङ खानेपानी योजना शिलान्यास गरिएको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-३ बाम्राङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-५ लफ्याङमा खानेपानीको सुविधा विस्तारका लागि मेवा दोभान, साप्सु कालिका देविस्थान लिफ्टिङ खानेपानी योजना शिलान्यास गरिएको हो । शनिबार लफ्याङमा साप्सु खोला किनारमा संविधानसभा सदस्य अर्जुन राईले विधिवत लिफ्टिङ खानेपानी योजना शिलान्यास गरेका हुन्।
साप्सु खोलाको पानी पाँच हजार एक सय मिटरमाथि रहेको मझुवागढी देविस्थानमा निकालेर दुई हजार ८५ परिवालाई वितरण गर्नेगरी लिफ्टिङ खानेपानी योजना सुरु गरिएको हो।
संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको कार्यालय खोटाङमार्फत ५४ करोड ६७ लाख ९० हजार ७१६ (भ्याट तथा पिएस सहित) मा मृत सञ्जिवनी-सगरमाथा जेभी, काठमाडौंले लिफ्टिङ खानेपानी योजनाको ठेक्का लिएको छ।
निर्माण कम्पनीले आगामी ०८२ भदौ ४ गतेसम्मा सम्पन्न गर्नेगरी ०७९ साउन २२ गते लिफ्टिङ खानेपानी योजनाको सम्झौता गरेको हो। मृत सञ्जिवनी-सगरमाथा जेभीले २०७९ भदौ ५ गतेदेखि काम सुरु गरेको जनाएको छ।
खानेपानीको बढ्दो समस्या समाधानका लागि खोलाको पानी निकाल्ने योजना सुरु गरिएको मेवा दोभान, साप्सु कालिका देबिस्थान लिफ्टिङ खानेपानी योजना उपभोक्ता समितिका अध्यक्ष ललितकुमार राईले बताए
लिफ्टिङ खानेपानी योजना अन्तरगत ६१ वटा आरभिटी ट्यांकी, एक वटा ट्रिटमेन्ट प्लान्ट, एक वटा कार्यालय भवन, एक वटा सम्प वेल, सात वटा गार्ड हाउस लगायतका संरचना बन्ने छ।
यस्तै, १०३ किलोमिटर वितरण पाईपलाईन र खोलादेखि पाँच हजार एक सय ट्रान्समिसनलाईनको काम हुने मृत सञ्जिवनी-सगरमाथा जेभीका इन्जिनियर हरिदेवकिशोर रजकले बताए। ६ वटा ट्यांकीमार्फत खोलाको पानी प्रतिसेकेण्ड २५ लिटरका दरले देविस्थानमा निकाल्ने योजना सहित लिफ्टिङको काम अघि बढाइएको हो।
हालसम्म कट्वाल गाउँमा सय घनमिटरको ट्यांकी, देविस्थानमा कार्यालय, खोलाभन्दा केहीमाथि ट्रिटमेन्ट प्लान्ट प्लान्ट, आरभिटी ट्यांक, गार्डहाउस लगायतका संरचना बनिरहेको इन्जिनियर रजकले बताए । आयोजनाबाट बाम्राङका ५६३, खाल्लेका ७८९ र लफ्याङका ७३२ घरधुरी लाभान्वित हुनेछन्। |
कर्णालीका स्थानीय तहमा कर्मचारी अभाव सुर्खेत । कर्णाली प्रदेशमा कर्मचारी अभावका कारण सेवा प्रवाह प्रभावित भएको छ । समयमा कर्मचारीको व्यवस्थापन नहुँदा स्थानीय तहमा कर्मचारी अभाव भएको हो ।
प्रदेशका कतिपय स्थानीय तहमा कर्मचारी अभाव हुँदा एक कर्मचारीले दुईवटा पालिकाको जिम्मेवारी लिनुपर्ने अवस्था सिर्जना भएको छ । दैलेखको भैरवी गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत बखतबहादुर खड्काले अहिले दुईवटा पालिकाको काम गर्दै आएका छन् ।
कर्मचारी पठाउन आग्रह गरेको र अहिलेसम्म कर्मचारी नपठाएको भैरवी गाउँपालिका सूचना अधिकारी केन्द्रबहादुर शाहीले बताए । उनले भने, “हामीले कर्मचारी अपुग भनेर भनेका छाँै, प्रशासकीय अधिकृतले दुईवटा पालिकाको जिम्मेवारी लिनुभएको छ ।”
प्रदेशका अन्य स्थानीय तहमा पनि दरबन्दीअनुसारका कर्मचारी छैनन् । चारवटा पालिका रहेको मुगुमा चारवटै पालिका प्रमुख प्रशासकीय अधिकृतविहीन छन् । सरकारले दरबन्दीअनुसार कर्मचारी व्यवस्थापन गर्न नसक्दा तल्लो तहका कर्मचारीलाई निमित्तमा राख्नुपर्ने बाध्यता छ ।
जिल्ला समन्वय समिति कार्यालय मुगुका प्रमुख मन्जनबहादुर कार्कीले भन्नुभयो जिल्लाका चारवटै पालिकामा प्रमुख प्रशासकीय अधिकृत नभएकाले निमित्तको भरमा चलिरहेको बताए ।
छ वटा स्थानीय तह रहेको रुकुमपश्चिममा पनि तीनवटा नगरपालिकामा अधिकृत तहका कर्मचारी नहुँदा निमित्तकै भरमा सञ्चानल भइरहेका छन् । प्रदेशमा कतिपय मन्त्रालयका कार्यालयले पनि यस्तै समस्या भोग्दै आएका छन् ।
कर्णालीका दुर्गम क्षेत्रमा कर्मचारी जान नमान्ने प्रवृत्तिले पनि कतिपय स्थानीय तहमा कर्मचारीको अभाव खड्किएको हो । विकट जिल्लाका स्थानीय तहमा अझै पनि कर्मचारी नरहेको जनप्रतिनिधि बताउँछन् ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सङ्घीय तथा प्रादेशिक कर्मचारी प्रशासन शाखाका उपसचिव रवीन्द्रजङ्ग थापाले अझै पनि कर्णालीका धेरै पालिकामा प्रमुख प्रशासकीय अधिकृत रिक्त रहेको भन्दै यसका लागि कार्यविधि बनाएर अघि बढ्ने तयारी भइरहेको बताए । |
पाठेघर खसेका महिलाको उपचारका लागि घर–घरमा स्वास्थ्यकर्मी पठाउने तुवाचुङ नगरको तयारी खोटाङ । पाठेघर खसेका महिलाको उपचारका लागि खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले घर–घरमा स्वास्थ्यकर्मी पठाउने तयारी गरेको छ । पाठे घर खस्ने समस्याका कारण दर्दनाक दिनचर्य विताइरहेका महिलाको पहिचान गर्दै उपचारका लागि नगरपालिकाले घर–घरमा स्वास्थ्यकर्मी पठाउने तयारी गरेको हो ।
पाठेघरको समस्या भएका कतिपय महिला लाज मानेर स्वास्थ्य संस्था वा स्वास्थ्य शिबिरसम्म जान हिच्किचाउने गरेको पाइएपछि नगरपालिकाले आगामी माघ १ गतेदेखि माघ ९ गतेसम्म घर–घरसम्मै स्वास्थ्यकर्मी परिचालन गर्ने निर्णय गरेको हो । घर–घरमा पुगेर पाठेघर खसेका समस्याको पहिचानका लागि नगरपालिकाले ११ वटै वडाका स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीलाई सुनौलो परिवार नेपालबाट प्रशिक्षक ल्याएर तालिम दिइएको छ ।
महिला स्वास्थ्य स्वयंसेविका र आमा समुहमार्फत पाठेघर खसेका महिलाको पहिचान गर्ने र उपचार प्रवन्ध गर्ने तयारी गरिएको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक प्रकाश घिमिरेले बताए । पाठेघर झरेर पहिलो र दोश्रो स्टेजमा पुगेका महिलाको उपचारका लागि रिङप्रेसरी राख्ने र घाउ उपचारका लागि औषधि प्रदान गरिने छ । तेश्रो र चौथो स्टेजमा पाठेघर खसेका महिलाको तथ्यांक संकलन गरेर जिल्ला अस्पतालसँग समन्वय गरेर शल्यक्रीयाको प्रवन्ध मिलाइने स्वास्थ्य शाखा प्रमुख घिमिरेले बताए ।
जिल्ला अस्पतालसँग पाठेघर खसेका महिलाको शल्यक्रीया गर्ने अवस्था नभए जिल्ला बाहिरका स्वास्थ्य संस्थामा लगेर भए पनि उपचार व्यवस्था गरिने नगरपालिकाले जनाएको छ । पाठेघरको समस्या लुकाउँदै आएका महिलालाई काउन्सिलिङको व्यवस्था गरिने छ । ‘पहिलो र दोश्रो स्टेजमा पुगेका पाठेघरको उपचारका लागि रिङप्रेसरी राखिदिन्छौँ । घाउ भएको रहेछ भने औषधि दिन्छौँ,’ घिमिरेले भने, ‘तेश्रो र चौथो स्टेजमा पुगेका पाठेघरको शल्यक्रीयाको व्यवस्था गर्छौँ । शल्यक्रीयाको लागि जिल्ला अस्पतालसँग समन्वय गर्छौँ । जिल्ला अस्पतालमा जनशक्ती ल्याएर उपचार गर्ने अवस्था भएन भने अन्यत्र लगेर भए पनि पाठघेरको उपचार गरिदिने छौँ ।’
अघिल्लो वर्ष पनि नगरपालिकाले बाहुनीडाँडाको झाप्पा, अर्खौलेको नवलपुर, सल्ले र मंगलटारमा पाठेघर खस्ने समस्याको उपचार शिबिर सञ्चालन गरेको थियो । तर शिबिरमा पाठेघर खसेका महिलाको अपेक्षित उपस्थिति नरहेपछि नगरपालिकाले घर–घरमा सहयोगी सहितको स्वास्थ्यकर्मी परिचालन गर्ने तयारी गरिएको मेयर बिमला राईले बताईन् । गत शिबिरमा स्वास्थ्यकर्मीले खिचेको आङ सिरिङ पार्ने पाठेघर खसेको तस्विर देखेपछि स्वयं मेयर राईले पाठेघर खसेका महिलाको उपचारका लागि घर–घरमा स्वास्थ्यकर्मी पठाउने निर्णय गराएकी हुन् । |
तुइनबाट खसेर दार्चुलामा १० वर्षीय बालक बेपत्ता दार्चुला । ब्यास गाउँपालिका–४ डोकट गाउँको तल तुइनबाट खसेर महाकाली नदीमा एक बालक बेपत्ता भएका छन् । बिहीबार दिउँसोतिर नेपालबाट भारत जाने क्रममा डोकटका स्थानीय १० वर्षीय बालक दिपेन्द्र विष्ट तुइनबाट खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।
मेलपाटा टोलका दिपेन्द्र कौनेणी तुइन तर्ने क्रममा खसेर बेपत्ता भएको प्रहरीले जनाएको हो । घटना बिहीबारको भएको भए पनि शनिबार मात्र सार्वजनिक रुपमा जानकारी आएको बताइएको छ ।
बिहीबार बिहान भारततिर खर काट्न गएकी आमाको पछि–पछि गएका दीपेन्द्र तुइनबाट नदीमा खसेको बताइएको छ । उनी डोकटस्थित ब्रह्मस्थान आधारभूत विद्यालयमा कक्षा ४ मा अध्ययनरत थिए । |
सर्वोच्च बारमा मतदान सम्पन्न काठमाडौं । सर्वोच्च बार एशोसिएशनको ३४औँ नयाँ कार्यसमिति चयनका लागि आज बिहान ८ बजेदेखि सुरु भएको मतदान सम्पन्न भएको छ ।
प्रमुख निर्वाचन अधिकृत मुकुन्दप्रसाद पौडेलका अनुसार नयाँ कार्यसमितिका लागि मतदान सुरु भएको थियो । नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनमा सत्ता र विपक्षी दलनिकट कानुन व्यवसायीबीच समूहगतरूपमा प्रतिस्पर्धामा छन् । दुई समूह आआफ्नो समूहको प्यानलसहित निर्वाचनमा होमिएका थिए ।
निर्वाचनमा बृहत् लोकतान्त्रिक र प्रगतिशील, पेसागत तथा गणतान्त्रिक समूह बनाएर चुनावी मैदानमा उत्रिएका छन् । लोकतान्त्रिक समूहबाट अध्यक्षमा वरिष्ठ अधिवक्ता हरिशङ्कर निरौलाले उम्मेदवारी दिएका थिए भने प्रगतिशीलबाट वरिष्ठ अधिवक्ता तुलसी भट्ट अध्यक्षको उम्मेदवारी दिएकी छन् ।
यस्तै एक उपाध्यक्षमा लोकतान्त्रिकबाट जगदीशप्रसाद पाण्डे र प्रगतिशीलबाट रामकृष्ण काफ्ले छन् । सचिवमा लोकतान्त्रिकबाट कल्याण पोखरेल र प्रगतिशीलबाट श्यामकुमार खत्री प्रतिस्पर्धामा छन् ।
सहसचिवमा लोकतान्त्रिकबाट सुजन लोप्चन र प्रगतिशीलबाट सजिता शाक्य उम्मेदवार हुनुहुन्छ । एक कोषाध्यक्ष पदका लागि लोकतान्त्रिकबाट रामचन्द्र पौडेल र प्रगतिशीलबाट कपिलचन्द्र पोखरेल प्रतिस्पर्धामा छन् । एक महिला सदस्यका लागि लोकतान्त्रिकबाट कमला रोका गिरी र प्रगतिशीलबाट सिर्जना कँडेल छन् ।
सदस्यमा लोकतान्त्रिक समूहबाट इन्द्रशेखर खड्का, प्रदीपकुमार श्रेष्ठ, उत्तमराज पाठक, भीमप्रसाद ढकाल, रुपनारायण श्रेष्ठ, रेशमराज रेग्मी, रामबहादुर राउत, सुमनकुमार केसी र बद्रीराज भट्ट रहेका छन् भने प्रगतिशीलबाट विवेककुमार पौडेल, प्रभुजी पन्त, विनोदकुमार श्रेष्ठ, वीरेन्द्र महर्जन, प्रभाकर श्रेष्ठ, अनुपराज उप्रेती र रमेशराज शर्मा सिग्देल चुनावी मैदानमा छन् ।
पाँच पदाधिकारी र १० सदस्य गरी १५ जनाको नयाँ पदाधिकारीका लागि भएको निर्वाचनबाट विजयीको कार्यकाल दुई वर्ष हुनेछ । सर्वोच्च बारमा छ सय २१ मतदाता रहेकामा पाँच सय ७३ मत खसेको छ । |
काठमाडौं महानगरपालिकाद्वारा नमूना विद्यालयलाई ९० लाख उपलब्ध काठमाडौं । काठमाडौं महानगरपालिकाले तीन नमूना विद्यालयलाई रु ९० लाख रकम उपलब्ध गराएको छ। कामपाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमा नै नमूना विद्यालय घोषणा गरेको ऐतिहासिक दरबार हाइस्कुल हाताभित्र सञ्चालित भानु माध्यमिक विद्यालय र संस्कृत माध्यमिक विद्यालय तथा क्षेत्रपाटीस्थित कन्या माध्यमिक विद्यालयलाई रु ३० लाखका दरले रकम उपलब्ध गराएको हो।
कामपाले चालु आवमा नमूना विद्यालयको लागि रु एक करोड बजेट विनियोजन गरेको थियो । विशेष गरी नमूना विद्यालयमा प्रविधिको सहज पहुँच, विद्यार्थीको अनुपातमा विषयगत शिक्षक दरबन्दी, प्रविधिमैत्री तथा गुणस्तरीय शिक्षा, अन्य विद्यालयमा भन्दा आकर्षक आन्तरिक कार्यक्रमजस्ता विषय समावेश हुनुपर्छ।
तीनवटै विद्यालयले उपलब्ध रकमबाट थप भौतिक पूर्वाधार सुधार र अन्य केही फरक किसिमको सिकाइका कार्यक्रम गर्नुपर्ने कामपा शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले जानकारी दिए। उनका अनुसार विद्यालयले उक्त रकम कुन शीर्षकमा खर्च गर्ने भनी तयार पारेको प्रस्ताव कामपामा बुझाइ सकेका छन्। अब प्रस्तावअनुसार काम भयो भएन भने कामपाले अनुगमन गर्नेछ।
कामपाका नमूना विद्यालयमा ऐतिहासिक सम्पदा, कृषि र कलाको बारेमा पठनपाठन गराइने तयारी छ। नमूना विद्यालयअन्तर्गत कन्या माध्यमिक विद्यालयमा ऐतिहासिक सम्पदा र वातावरण संरक्षण कसरी गर्ने भन्नेबारे अध्ययन गराइन्छ।
त्यसैगरी संस्कृत विद्यालयमा सहरी खेती कार्यक्रमलाई कसरी प्रभावकारी बनाउन सकिन्छ। जुन हाम्रो दैनिक जीवनमा उपयोगी हुनसक्छ। सहरमा प्रशस्त खुला स्थान छैन थोरै ठाउँमा पनि कसरी कृषि कार्य गर्न सकिन्छ भन्ने बारे सिकाइन्छ।
त्यस्तै भानु माविमा भने कला र संस्कृतिको विषयमा पठनपाठन गर्ने तयारी रहेको छ। पछिल्लो समय कलाको आवश्यकता यसको संरक्षणजस्ता विषय यसमा समावेश हुनेछन्। जसको लागि ललितकलासँग समन्वय गरेर अघि बढ्ने तयारी कामपाको रहेको छ।
हाल कामपामा ८९ वटा सामुद्यायिक विद्यालय छन् । जसमा ५९ माध्यमिक विद्यालय छन् भने ३० प्राथमिक विद्यालय छन् जसमा ५२ हजार विद्यार्थीले अध्ययन गर्दछन्। त्यसैगरी पाँच सय ४० निजी विद्यालयमा एक लाख ५० हजार विद्यार्थी अध्ययनरत छन्। |
२९ वर्ष बालबालिकासँग, अहिले सुन्तलासँग रमाउँदै ‘तारा’ वालिङ। विगत तीन दशक स-साना बालबालिकासँगै रमाउँदै आएकी तारा अर्यालको अहिले दैनिकी फेरिएको छ।
बालबालिकाको सुनौलो भविष्यको मार्गचित्र कोर्नमा समय खर्चिदै आएकी तारा अर्याल अहिले भने सुन्तलाको हेरविचारमा तल्लिन छिन्। स्याङ्जाको पुतलीबजार नगरपालिका-११ मायाटारीकी ६६ वर्षीया अर्यालले गाउँको नजिकै पोखरीचौरमा रहेको महेन्द्र देववाणी आधारभूत विद्यालयमा शिक्षिकाको रुपमा २९ वर्ष सेवा गरिन्।
शिक्षण पेसाबाट अवकाश भएकी अर्यालको अहिलेको दैनिकी सुन्तला बगैँचामै बित्ने गरेको छ। विद्यालयमा जसरी बालबालिकालाई माया गरेर शिक्षा दिइयो त्यसरी नै सुन्तलाका बोटलाई स्याहारसुसार नियमित गरेकै कारण पनि आम्दानीको मुख्य स्रोतको रुपमा सुन्तला भएको उनी बताउँछिन्।
घरको आँगन, डिल तथा आसपासका बारी तथा कान्लामा सुन्तला लटरम्म फलेका छन्। घर वरिपरि रहेको सुन्तला बगैँचा पहेँलपुर छ। झट्ट हेर्दा जोकोही पनि मन आनन्दित र प्रफुल्लित हुने गर्छ। विगत वर्षको तुलनामा यस वर्ष सुन्तला अत्यधिक फलेकाले पनि बोटले फल धान्न नसकेर हाँगा लाछिएका छन्। केही बोटलाई एक दुई वटा टेका दिइएको छ।
सुन्तला पाक्न थालेसँगै बर्सेनि यहाँ व्यापारी बगैँचा नै ठेक्का लिन आउने गरेका छन्। यस वर्ष पनि उनले ठेक्कामार्फत रु चार लाखको सुन्तला बिक्री गरिसकेकी छन्। बाँकी सुन्तला अहिले बोटबाट नै फुटकररुपमा बिक्री भइरहेको छ।
पुतलीबजारको जैँसीडाँडामा शीतभण्डार सञ्चालनमा आएसँगै यहाँका सुन्तला उत्पादक किसानले सुन्तला भण्डारण गर्ने गरेका छन्। अहिले प्रतिकेजी रु ९० देखि सयमा बिक्री हुँदै आएको सुन्तलाको मूल्य बढी पार्न शीतभण्डारमा राख्ने चलन बढ्दै गएको छ। अर्यालको सुन्तला बगैँचामा उत्पादन भएको सुन्तला स्थानीय बजारसहित पोखरा, काठमाडौँ, बुटवललगायतका बजारमा बिक्री हुँदै आएको छ।
सुन्तलाको मूल्य बढी पार्न अहिले शीतभण्डारमा सुन्तला उनले राखिसकेकी छन्। “अहिले फुटकरमा प्रतिकेजी रु ९० देखि सयमा सुन्तला बिक्री हुन्छ”, उनले भनिन्, “दुई महिनापछि शीतभण्डारबाट झिकेर सुन्तला बिक्री गर्दा प्रतिकेजी झण्डै रु दुई सय पर्छ।”
सुरुका वर्षमा सुन्तलाका बोट नै कम भएकाले उत्पादन थोरै भयो। आम्दानी पनि थोरै भयो। केही वर्षदेखि निरन्तर सुन्तला बिक्रीबाट रु २५ लाख आम्दानी हुँदै आएको अर्याल दाबी गर्छिन्। सुन्तलाका नयाँ बोट थपिएकाले आगामी वर्षबाट उत्पादन बढ्नेछ। अनि आम्दानी पनि स्वभाविक बढ्ने विश्वासमा उनी छिन्।
विसं २०४२ मा दुई सुन्तलाका बोट रोपेको सम्झना उनलाई छ। परीक्षणका लागि रोपेका बोटले केही वर्षपछि राम्रो उत्पादन दिन सुरु गरेपछि उनी व्यावसायिकरुपमा अगाडि बढिन्।
“सुरुमा रोपेका दुई वटा बोटबाट राम्रो उत्पादन भएपछि सुन्तलाको सम्भावना देखेर बर्सेनि बोट थप्दै सुन्तला बगैँचा विस्तार गर्दै गएँ”, उनले भनिन्, “अहिले सुन्तला बगैँचामा दुई हजार बढी सुन्तलाका बोट छन् जसमध्ये आधा बोटमा सुन्तला फलिरहेका छन्। आधा बोट नयाँ छन्।” अर्यालले अझै दुई सय नयाँ बोट लगाउन तयारी गरेकी छन्। कूल ३६ रोपनी क्षेत्रफलमा अहिले सुन्तला बगैँचा फैलिएको छ। रासस |
जिल्ला प्रशासन कार्यालय चितवनमा सेवाग्राहीलाई ‘टाइम कार्ड’ चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले आइतबारदेखि सेवाग्राहीका लागि ‘टाइम कार्ड’ लागू गर्ने भएको छ । ‘टाइम कार्ड’ लागू भएपछि सेवाग्राहीलाई तोकिएको समयसीमाभित्र सेवा नदिने जिम्मेवार कर्मचारीबाट सेवाग्राहीलाई क्षतिपूर्ति भरण गराइने भएको हो ।
कर्मचारीहरूलाई सेवाप्रति जिम्मेवार बनाउन ‘टाइम कार्ड’ लागू गर्न लागिएको हो । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार कार्यालयबाट दिइने सेवामा सेवाग्राहीलाई ‘टाइम कार्ड’ को व्यवस्था गर्न लागिएको हो । उनका अनुसार राष्ट्रिय परिचयपत्र, राहदानी, नागरिकता र प्रतिलिपि शाखा, मुद्दा शाखा लगायतका शाखामा ‘टाइम कार्ड’ लागू गर्ने तयारी गरिएको छ ।
अहिले कार्यालयमा भीड बढी हुने गरेको उनले बताए । सेवाग्राहीलाई सहज बनाउनका लागि कार्यालय परिसरमा हेल्प डेस्क राखिनेछ । यहाँबाट आवश्यक कागजपत्र पूरा भए÷नभएको हेरेर सेवाग्राहीलाई सेवाका लागि पठाइने उनले बताए । कागजपत्र पूरा भएका सेवाग्राहीलाई मात्र ‘टाइम कार्ड’ दिइनेछ । यसबाट कार्यालयमा अनावश्यक भीड नियन्त्रण हुने उनको भनाइ छ ।
राष्ट्रिय परिचयपत्रका लागि प्रतिघण्टा ३०, राहदानीमा प्रतिघण्टा २० र नागरिकता एवं प्रतिलिपि सेवाग्राहीको कागज पत्रका आधारमा एक घण्टाभित्र उपलब्ध गराउने गरी ‘टाइम कार्ड’ दिन लागिएको हो । सेवा लिन आएका सेवाग्राहीहरूलाई तोकिएको समयमा सेवा दिइनेछ ।
अहिले कार्यालयबाट दैनिकरूपमा राष्ट्रिय परिचयपत्र एक सय ९०, नागरिकता एक सय ५० र राहदानी एक सय ३० जनाले सेवा लिने गरेका छन् । नागरिकता नयाँ बनाउने ८० र प्रतिलिपि लिने ७० जना हुने गरेको उनले बताए । |
ऐन मिच्दै लुम्बिनी विकास कोषले थाल्यो पक्की संरचना निर्माण बुटवल । लुम्बिनी विकास कोषले ऐनविपरीत कपिलवस्तुमा भौतिक संरचना निर्माण थालेको छ । कपिलवस्तुको क्रकुछन्द बुद्धको जन्मस्थल गोटिहवामा सम्बन्धित् निकायको अनुमतिबिना पक्की संरचना निर्माण थालिएको हो । कुनै पनि ऐतिहासिक एवं पुरातात्विक क्षेत्रमा संरचना निर्माण गर्दा पुरातत्व विभागबाट पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था छ । तर, लुम्बिनी क्षेत्र विकास कोषले ऐनविपरीत गोटिहवामा भौतिक संरचना निर्माण गर्न थालेको हो ।
कोषले गोहिटवास्थित अशोक स्तम्भको पूर्वपट्टि स्थायी संरचना पक्की शौचालय निर्माण अघि बढाएको छ । डेढ साता अघिदेखि संरचना निर्माण भइरहेको छ । शौचालयका लागि ठूलो खाल्डो खनेर पक्की ट्याङ्की निर्माण गरिएको छ । प्राचीन स्मारक तथा पुरातात्विक स्थल संरक्षण गर्न बनाइएको प्राचीन स्मारक संरक्षण ऐनविपरीत सो निर्माण कार्य भएको छ । कुनै पनि पुरातात्विक स्थलमा विभागको अनुमति वा स्वीकृतिबिना स्थायी संरचना निर्माण गर्न नपाइने पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरले बताए ।
आफूहरूलाई गोटिहवामा निर्माण सुरु गरिएको संरचनाबारे केही थाहा नभएको उनले बताए । गोटिहवामा आउने पर्यटकलाई लक्षित गरी त्यहाँ शौचालय निर्माण गर्न लागिएको कोषका योजना प्रमुख सरोज भट्टराईले बताए । उनले भने, ‘कोषको पुरातत्व शाखाले जियोफिजिक्स सर्वे गरेर पुरातात्विक वस्तु नभएका ठाउँमा शौचालय निर्माण अघि बढाइएको छ ।’ जानीजानी आफ्नो सम्पदा नष्ट नगर्ने उनको भनाइ छ । गोटिहवालाई क्रकुछन्द बुद्धको जन्मथलोका रूपमा मानिँदै आएको छ ।
यस क्षेत्रमा ईसापूर्व चौथो शताब्दीसम्म मानव बस्ती रहेको प्रमाण यसै क्षेत्रबाट उत्खनन गरिएका अवशेषबाट प्रमाणित भएको पुरातत्वविद्हरू बताउँछन् । प्राचीन स्मारक संरक्षण ऐन–२०१३ को (१२) सजाय (ग) ले कुनै पनि पुरातात्विक वस्तुलाई नष्ट गरेमा, भत्काएमा, विरूप पारेमा, चोरी गरेमा वा अनाधिकृत रूपमा हटाएमा वा परिवर्तन गरेमा वा कुनै किसिमले हानि नोक्सानी गरेमा त्यस्तो पुरातात्विक वस्तुको बिगोबमोजिमको रकम असुल उपर गरी पाँच हजारदेखि एक लाख रुपियाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरेको छ । |
अतिक्रमण हुँदा वन कार्यालय मुकदर्शक सुर्खेत। डिभिजन वन कार्यालय जाजरकोटभन्दा दुइ सय मिटर नजिक वन अतिक्रमण गरी घर टहरा निर्माण गरिए पनि वन कार्यालयले नदेखेझैँ गरी हिँडिरहेको छ। अधिकांश सार्वजनिक जग्गा छेउछाउका जग्गाधनीले अतिक्रमण गरिरहेका छन्। बचेखुचेको जग्गामा टहरा निर्माण गरी महंगो घर निर्माण तथा किनबेच हुने क्रम बढेको छ।
सदरमुकाम खलंगामा वन क्षेत्र अतिक्रमण गरी होटल, पसललगायत विभिन्न व्यवसाय सञ्चालन भइरहेको छ। अतिक्रमणकारीले मूख्य सडक छेउछाउका सार्वजनिक जग्गा कब्जा गर्न थालेपछि डिभिजन वन कार्यालय जाजरकोटले पटक–पटक चेतनामूलक सूचना प्रकाशित गर्दै आएका छन्।
‘कार्यालयले अतिक्रमण गरी व्यापार–व्यवसाय सञ्चालन गर्दै आएकाहरूलाई मौखिक निर्देशन दिँदै आएको कार्यालयले जनाएको थियो। अतिक्रमित जग्गा खाली गराएर सदरमुकाम खलंगाको मूख्य सडक खण्डको वातावरण स्वच्छ र सफा राख्ने तरखरमा रहेको कार्यालयले दाबी गरेको थियो।
जाजरकोट जिल्लामा वन अतिक्रमण रोक्न कार्यालय प्रमुख राधाकृष्ण दासले अगाडी बढ्ने प्रतिबद्धता जनाउदै आएका छन्। जिल्लामा कुल वनको क्षेत्रफल १ लाख ३४ हजार ४७० हेक्टर रहेको कार्यालयले जनाएको छ। जसमध्ये आ.व. २०७८/०७९ को अन्त्यसम्ममा ५६ हजार २६६.४५ हेक्टर वन सामुदायिक वन, ८३१.७५ हेक्टर कबुलियती वन, ९.६४ हेक्टर धार्मिक वन पर्ने रहेको कार्यालयको अभिलेखमा छ । कुल क्षेत्रफलको ५ हजार हेक्टर वन अतिक्रमण भएको कार्यालयले जनाएको छ।
अतिक्रमण रोक्ने प्रतिबद्धता
जिल्लामा वढदो वन अतिक्रमण रोक्न सरोकारवाला निकाय सहमत भएका छन्। बिहीबार प्रमुख जिल्ला अधिकारी अन्जन न्यौपानेको अध्यक्षतामा बैठक बसेको थियो। बैठकले जिल्लाको वन अतिक्रमण सम्बन्धी छलफल भएको डिभिजन वन कार्यालय जाजरकोटले जनाएको छ। जिल्लाका सुरक्षा प्रमुख तथा राजनीतिक दल लगाएतका सरोकारवाला निकाय अतिक्रमण रोक्न बैठक भएको थियो।
जिल्लामा बढ्दो अतिक्रमण रोक्न वन कार्यालयले बैठकको आयोजना गरेको थियो। वन अतिक्रमण नियन्त्रण एवं रोकथाम गर्नका राजनीतिक दल, सामुदायिक वन उपभोक्ता समूह लगायत सबै सरोकारवाला निकायहरूले प्रतिवद्धता व्यक्त गर्ने बैठकले निर्णय गरेको थियो। राजनीतिक दलको दवावमा वन क्षेत्र फडानी हुँदै गएको भन्दै यस्तो निर्णय गरिएको एक सहभागीले बताएका थिए।
यस्तै बैठकबाट सामुदायिक वन उपभोक्ता समूहहरूबाट प्राप्त विवरण ७ दिनभित्र संकलन गर्ने निर्णय भएको वन कार्यालयका प्रमुख दासले बताए। जिल्लामा रहेका ३ सय ८ वटा सामुदायिक वनबाट एक हप्ताभित्र अतिक्रमणको डाटा संकलन गर्नै उनले बताए। सामुदायिक वनबाट प्राप्त तथ्यांक अनुसार अतिक्रमण भएको वन क्षेत्र खाली गर्ने कार्यालयको दाबी छ।
वन अतिक्रमण नियन्त्रण समितिको बैठकबाट भएको निर्णयअनुसार तथ्यांक उपलब्ध भएपश्चात काम गर्ने कार्यालय स्रोतले जनाएको छ। यस्तै बैठकबाट स्थानीय तहहरूलाई जग्गाधनी पूर्जा नभएका नागरिकलाई विद्युत खानेपानी र टेलिफोनको सिफारिस नगर्न पत्राचार गर्ने निर्णय भएको छ। |
रोगको प्रकोपले रित्तियो लामीडाँडाको सुन्तला बगान खोटाङ। कुनैबेला खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडा सुन्तला उत्पादनका लागि प्रख्यात थियो। हाँगो निहुराएर फल्ने सुन्तला लामीडाँडा विमानस्थलबाट काठमाडौं र विराटनगरसम्म पुग्थे।
सुन्तला उत्पादनबाट लामीडाँडाका किसानले लोभलाग्दो आर्थिक उपार्जन गर्थे। लामीडाँडाको सयौं रोपनी जग्गामा लगाइएका सुन्तलाको हरियो झाङको दृश्य टाढा–टाढाबाट मनमोहक देखिन्थ्यो।
किसानको मुख्य आय श्रोत तिनै रहरलाग्दो सुन्तला बगान थियो। तर विगत दशक यता लामीडाँडाका सुन्तला क्रमशः मर्न थाले। निरन्तर बोट मर्न थालेपछि ८र९ वर्षकै अवधिमा लामीडाँडामा सुन्तला बगान रित्तिएको स्थानीय शिवकुमार बिश्वकर्माले बताए।
अहिले बगानमा सुन्तलाको मरिसकेका र केही मर्न लागेका बोट मात्र बाँकी छन्। सुन्तलाको बोटले हरियाली देखिने लामीडाँडाको नांगो बनेको छ। शहर बजारसम्म पुर्याएर सुन्तला बिक्री गरेर पैसा हात पार्ने किसान उल्टै सुन्तला किनेर चाख्नुपर्ने अवस्थामा पुगेका छन्।
जिल्लाकै पुरानो बिमानस्थल रहेको लामीडाँडाका हरेक घरमा सुन्तला खेती थियो। प्रायः सबै घरमा कम्तीमा ३०–४० बोट सुन्तला लगाइएको थियो। रेवतीरमण पोखरेल, जयप्रसाद भट्टराई, ताराबहादुर श्रेष्ठ, गुञ्जबहादुर श्रेष्ठ, खिलाबहादुर श्रेष्ठ, लछुमन श्रेष्ठ, खिला राना मगर लगायत सुन्तला उत्पादनमा कहलिएका किसान थिए। तर अहिले सबैको बगान रित्तिएको छ । सुन्तलाको मरेका बोट ढालेर दाउरा बाल्ने गरिएको छ।
लामीडाँडामा लगाइएको सुन्तलामा ऐझेरु पलाउने, जरामा घ्यु कमिला लाग्ने, जरामा रोग लागेर छिन्ने, डाँक्ला कुहिने, पात पहेँलो हुँदै जाने, टुप्पाबाट पहेँलो हुँदै जाने र बोट मर्ने, दाना राम्ररी नपाक्ने, एउटै दानाको एकातिर पाकेको र अर्कोतिर काँचो हुने, बीचबाट दुई फ्याक बनाउँदा एकातिर ठूलो र अर्कोतिर सानो भाग देखिने समस्या देखिएको छ। विशेषगरी २०७२ सालको भूकम्पपछि क्रमशः सुन्तलाको बोट मर्न सुरु गरेको स्थानीय पुस्तनारायण श्रेष्ठले बताए।
लामीडाँडामा उत्पादित सुन्तला डोकोमा बोकेर खोटाङकै विभिन्न हाटबजारदेखि ओखलढुंगा, सोलुखुम्बुसम्म पुर्याइन्थे। लामीडाँडाको सुन्तला भनेपछि ग्राहकको पहिलो रोजाईमा पथ्र्यो। अधिकांश हिस्सा भने हवाईजहाज र हेलीकोप्टरमार्फत काठ्माण्डौं–बिराटनगर पुग्थ्यो।
कोसेलीका रुपमा उत्तिकै प्रयोग हुन्थ्यो। खपत नभएका सुन्तला रक्सी उत्पादनमा प्रयोग हुन्थ्यो । अहिले लामीडाँडाको सुन्तला बगानको विषय एकादेशको कथाझैं बनिसकेको छ। किसानले पुरानो बोट मरेको ठाउँमा नयाँ बोट हाल्ने प्रयास नगरेका भने होईनन् तर नयाँ बिरुवा पनि हुर्कन नपाउँदै मर्ने गरेको छ।
रोपेका नयाँ बिरुवा पहेँलिएर मर्ने गरेको छ। सिट्रस ग्रिनिङ, जरा कुहिने, झ्याउ पलाउने, डाँठ कुहिने, टुप्पाबाट मर्दै जाने लगायतका समस्याबाट सुन्तलाको बगान रित्तिएको कृषि ज्ञान केन्द्र खोटाङका वाली संरक्षण अधिकृत रामनन्दन यादव बताउँछन्।
रोगको प्रकोपका कारण लामीडाँडाको मात्र नभएर समग्र जिल्लाकै सुन्तला उत्पादनमा र्हास आइरहेको छ। औंसा, सिट्रस ग्रिनिङ, जरा कुहिने, झ्याउ पलाउने लगायतका रोगका कारण सुन्तला बगान रित्तिएपछि कृषि ज्ञान केन्द्रले किसानलाई विषादि तथा उपकरण वितरण गरिरहेको छ।
ईकोहिमाल नामक संस्थाको पहलमा २०७८ कात्तिक २७ गते नमूना संकलन गरेर लागि पिसिआर परीक्षणका लागि २०७८ पुस २९ गते नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, विश्लेषणात्मक सेवा केन्द्र, खुमलटार पठाउँदा लामीडाँडाका ६ मध्ये ५ नमूनामा सिट्रस ग्रिनिङ पोजेटिभ पूष्टि भएको थियो। रित्तिएको सुन्तला बगानलाई पुःन जगाउनका लागि कृषि ज्ञान केन्द्रसँगको सहकार्यमा औषधि तथा उपकरण वितरण गरिएको रावाबेँसी गाउँपालिकाका अध्यक्ष फटिककुमार श्रेष्ठले बताए। |
प्राविधिक शिक्षालयबाट प्रदेश सरकारको काम: विद्यार्थी समस्यामा बुटवल। लुम्बिनी प्रदेश सरकारले राप्ती प्राविधिक शिक्षलयको भवनलाई प्रदेश राजधानी संरचनामा बदलेपछि त्यहाँ अध्ययनरत विद्यार्थी समस्यामा परेका छन्।
राजधानी बुटवलबाट देउखुरी सार्दा प्रदेश सरकारले राप्ती प्राविधिक शिक्षालयको भवन प्रयोग गरेको छ। जसका कारण त्यहाँ अध्ययनरत झण्डै एक हजार प्राविधिक शिक्षा अध्ययनरत विद्यार्थी समस्यामा परेका हुन्।
केही हप्ताअघि प्रदेश सरकारले लालमटियामा रहेको प्राविधिक शिक्षालयको भवनबाटै आफ्नो काम गर्न थालिसकेको छ। गत आइतबार शपथ भएर सोमबारबाट प्रदेश सभा अधिवेशन पनि सुरु भइसकेको छ।
दुई वर्ष अघि २०७७ असोज २० गते लुम्बिनी प्रदेशसभाले दाङको देउखुरीलाई प्रदेशको स्थायी राजधानी बनाउने प्रस्ताव पारित गरेको थियो। त्यसपछि राप्ती प्राविधिक शिक्षालयमा राजधानीका पूर्वाधार बनाउने निर्णय भयो।
राजधानीको संरचना रहने भएपछि तीन दशकअघि लालमटियामा स्थापित राप्ती प्राविधिक शिक्षालय गढवा गाउँपालिका ३ मा ल्याइएको हो। गत तिहार र छठपछि शिक्षालयले आफ्नो कक्षा यहीँबाट चलाएको छ।
व्यवस्थित संरचनाबाट नयाँ ठाउँमा आउँदा शिक्षालयका विद्यार्थीहरुले असहज मानिरहेका छन्। राप्ती प्राविधिक शिक्षालयमा डिप्लोमा इन सिभिल इन्जिनियरिङको तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी रुकुमका अनिलकुमार बुढाथोकीले नयाँ ठाउँमा प्राक्टिकल गर्न समस्या रहेको बताए।
“झण्डै तीन वर्ष त्यहाँ बसियो। अहिले यता आइएको छ। सबै संरचना बनिसकेको छैन”- उनले भने, “त्यहाँ विषय अनुसारको संरचना सेट भइसकेको थियो। त्यसै आधारमा हामीले प्राक्टिकल गथ्र्यौँ। अब प्राक्टिकल गर्न समस्या छ।”
लालमटियामा पूर्वपश्चिम राजमार्गसामुन्ने नै प्राविधिक शिक्षालय रहेको थियो। अहिले स्थानान्तरण भएको ठाउँ राजमार्गबाट अलि दक्षिण पर्दछ। लालमटियाबाट राजमार्ग हुँदै पाँच किलोमिटर पश्चिम गएपछि सिसहनिया बजार आउँछ। सिसहनिया बजारबाट राजमार्ग छोडेर दक्षिण लागि सात किलोमिटर दूरीमा शिक्षालय आउँछ।
यहाँ आउन नेपालकै दोस्रो लामो राप्ती पुल तर्नुपर्दछ । ग्रामीण क्षेत्र भएकाले गढवाका घरहरु व्यवसायिक प्रायोजनमा लगाउने गरी बनाइएका छैनन् । राजमार्ग क्षेत्रबाट तुलनात्मक रुपमा पर र ग्रामीण क्षेत्रमा आउँदा कोठाको पनि समस्या रहेको डिप्लोमा इन इन्जिनियरिङ छैटौँ सेमेष्टरकी एलिना पोखरेलले बताइन्।
“राजमार्गबाट टाढा भएकाले केही गाह्रो भयो । सुरुमा त स्कुल बसमा आउने जाने गथ्र्यौँ, अहिले यतै बस्न थालेका हौं”– उनले भनिन् “उताभन्दा यता बसाइ अलि असजिलो छ । कोठाका साइज उता भन्दा सानो, पानी, बाथरुमको अलि समस्या भयो ।”
लालमटियामा प्रदेश सरकार र सभाले काम सुरु गरिसक्दा यता गढवामा शिक्षालयका सबै सामान सेटअप भइसकेका थिएनन् । राप्ती प्राविधिक शिक्षालयका प्रमुख शालिकराम डाँगीले अहिले सामान व्यवस्थापन भइरहेकाले अबको दुई महिनामा संरचना तयार हुने बताए ।
“कक्षाकोठा र कार्यालय सेटिङ भइसकेको छ । केही मिलाउन बाँकी छ । आउनेबित्तिकै प्रयोगात्मकको लागि वर्कशप र क्वार्टर अपुग थियो”– उनले भने, “वर्कशप लगभग बनिसकेको छ । क्वार्टर बन्ने क्रममा छ । व्यवस्थित गर्न समय लाग्ला ।”
डाँगीले पठनपाठनलाई प्रभाव नपर्ने गरी मर्मत र सेटअपको काम भइरहेको बताए। २०५० सालमा स्थापित राप्ती प्राविधिक शिक्षालयमा अहिले ७९२ विद्यार्थी अध्ययन गर्न सक्ने क्षमता छ । कोरोनाका कारण बीचमा परीक्षा नियमित नहुँदा हाल एक हजारभन्दा बढी विद्यार्थी छन्।
शिक्षालयमा कृषि, सिभिल इन्जिनियरिङ र स्वास्थ्यका प्राविधिकतर्फ नौ वटा कार्यक्रम छन्। जसमध्ये ६ वटा डिप्लोमाका र तीनवटा प्री-डिप्लोमाका शैक्षिक कार्यक्रम सञ्चालन भइरहेको शिक्षालय प्रमुख डाँगीले जानकारी दिए।
राप्ती प्राविधिक शिक्षालय सिटिइभिटीइको आंगिक शैक्षिक संस्था हो। शिक्षालयको स्थानान्तरका लागि प्रदेश सरकारले खर्च बेहोरेको छ। गढवा गाउँपालिका–३ मा सरस्वती माध्यमिक विद्यालयको नाममा १८ बिघा जग्गा रहेको छ।
अहिले सबै जग्गा विद्यालयको नाममा रहेपनि संघीय शिक्षा मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट राप्ती प्राविधिक शिक्षालयले १४ विघा जग्गाको भोगाधिकार पाएको छ।
विद्यालयले चार विघा जग्गा उपयोग गरेको छ। सरस्वती मावि भवन प्रविधिक शिक्षालयले उपयोग गरेपछि गाउँपालिकाले बनाएको अस्थायी भवनमा विद्यालय सञ्चालन भएको छ। स्थायी भवन निर्माण पनि सुरु भएको छ।
शिक्षालय प्रमुख शालिकराम डाँगीले नयाँ गुरुयोजना पनि बनेकाले केही वर्षमा गढवामा लालमटियाको भन्दा आधुनिक र व्यवस्थित संरचना बन्ने बताए। |
जग्गाको कित्ताकाट खुल्यो डुम्रे। तनहुँको म्याग्दे गाउँपालिकामा जग्गाको कित्ताकाट खुलेको छ। गाउँपालिकाले जग्गाको वर्गीकरण सकाएसँगै जग्गाको कित्ताकाट खुेलको हो।
गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष बालकृष्ण घिमिरे र प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले मालपोत कार्यालय तनहुँका प्रमुख चिरञ्जीवी पौडेल, तनहुँ नापी अधिकृत कृष्णप्रसाद आचार्य, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याललाई वर्गीकरण पुस्तक तथा पत्र हस्तान्तरण गरी कित्ताकाट खुलेको जनाइएको छ।
जग्गाको कित्ताकाट खुला भएको पुस्तक हस्तान्तरण भएसँगै म्याग्दे गाउँपालिका तनहुँको जग्गाको कित्ताकाट खुलाउने पहिलो पालिका बनेको छ। विसं २०७९ साउनदेखि रोकिएको जग्गाको कित्ताकाट अब गाउँपालिकामा खुलेको मालपोत कार्यलयका प्रमुख पौडेलले बताए।
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको च नं ४६९ मिति २०७९।२।२७, च नं १६१ मिति २०७९।४।३१, चनं २५८ मिति २०७९।५।१९ र चनं ४६९ मिति २०७९।८।११ को परिपत्रबाट प्राप्त निर्देशन साथै भूउपयोग ऐन, २०७६ को दफा ४ तथा भूउपयोग नियमावली, २०७९ को नियम ५, अनुसूची १ मा भएको व्यवस्थाको आधारमा गाँउपालिकाले विभिन्न चरण पार गरी पालिकाभित्रको जग्गा वर्गीकरण गरिएको थियो।
जग्गा वर्गीकरणको पुस्तक स्थानीय भूउपयोग परिषद्बाट स्वीकृत गरी कार्यान्वयनका लागि नापी कार्यालय तनहुँ, मालपोत कार्यलय तनहुँ, सङ्घीय भूउपयोग परिषद् (भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सिंहदरबार, नापी विभाग मीनभवन काठमाडौँ, प्रदेश भूउपयोग परिषद् (भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारणमा पत्र पठाइएको म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अधिकारीले जानकारी दिए।
यससँगै गाउँपालिकाको गाउँ कार्यपालिकाले बनाएको स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ को उपदफा (२) तथा उपदफा (३) बमोजिम आमनागरिकको जानकारीका लागि खण्ड ६, सङ्ख्या १, विसं२०७९ मङ्सिर २३ गतेको स्थानीय राजपत्रमा समेत प्रकाशित गरिएको थियो।
प्रमुख मालपोत अधिकृत पौडेलले म्याग्दे गाउँपालिकाले भूमि व्यवस्था सहकारी तथा गरिबी मन्त्रालयको निर्देशन समयमा नै पूरा गरी स्थानीयवासीलाई सहज वातावरण तय गरिदिएको बताए।
आमनागरिकको चासो तथा सरोकारको विषयमा गाउँपालिकाले देखाएको क्रियाशीलताले खुसी लागेको उनले बताए। जिल्लाका अन्य पालिकाले पनि जग्गाको वर्गीकरण अविलम्ब गरी जनताको चासोलाई सम्बोधन गर्न पौडेलले सुझाव दिए।
जग्गाको वर्गीकरणसँगसँगै अब गैरकृषि क्षेत्रमा चार आना एक पैसा र कृषि क्षेत्रमा दुई रोपनी जग्गाको कित्ताकाट गर्न पाउनेछ। यो निर्णय कार्यान्वयन भएसँगै पालिकाभित्रका जग्गाको कित्ताकाट खुला हुँदा आमनागरिकलाई ठूलो राहत हुने गाउँपालिकाका अध्यक्ष श्रेष्ठले बताए। “पालिकाका आमनागरिकको समस्या समाधानमा प्रयत्नशील छौँ, यसको सुरुआत भएको छ”, श्रेष्ठले भने। रासस |
कोभिड-१९ पछि आयुर्वेद उपचारतर्फ आकर्षण बढ्यो चितवन। कोभिड-१९ महामारीपछि आयुर्वेदिकतर्फको उपचारको आकर्षण बढेको छ। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रत्ननगर र त्यस मातहतको कार्यालयमार्फत गत आर्थिक वर्ष २०७७/७८ मा ५६ हजार एक सय २३ जनाले सेवा लिएका छन्।
सेवा लिनेमध्ये बहिरङ्ग सेवा नौ हजार दुई सय ९९, योग सेवा दुई हजार आठ सय ४३, पूर्वकर्म/पञ्चकर्म सेवा दुई हजार सात सय ९४, ज्येष्ठ नागरिक सेवा एक हजार, स्तनपायी आमा तथा शिशु सेवा एक सय ८९, नागरिक आरोग्य स्वास्थ्य सेवा ११ हजार ४४, अन्य सेवा आठ सय १३ जनाले लिएका छन्। यस्तै औषधालय सेवा २९ हजार आठ सय २३ जनाले लिएका छन्।
आव २०७६/७७ मा आठ हजार सात सय १२ जनाले सेवा लिएका थिए भने आव २०७७/७८ मा १२ हजार छ सय ६५ जनाले सेवा लिएको केन्द्रले जनाएको छ।
कार्यालयका प्रमुख डा कोपिला अधिकारीका अनुसार कोभिड महामारीमा धेरैले आयुर्वेदिक औषधि प्रयोग गरेसँगै सेवा लिनेको सङ्ख्या बढ्दै गएको हो। अधिकारीले भने, “पहिले अन्यत्र निको नभएपछि आयुर्वेदबाट उपचार गराउन आउने धेरै हुन्थे, पछिल्लो समय प्रथम उपचार गर्न नै आउने बढेका छन्।”
सेवाग्राही बढेसँगै केन्द्रले सेवालाई विस्तार गर्दै लगेको छ। अधिकारीका अनुसार केन्द्रबाट २३ वटा औषधि निःशुल्करूपमा दिने गरिएको छ भने अन्य आवश्यक औषधि सशुल्क किन्न सकिने गरी फार्मेसी सञ्चालन गरिएको छ।
यसैगरी प्रयोगशाला, भिडियो एक्सरेलगायतका सुविधा सञ्चालन गरिएको छ। केन्द्रमा प्रत्येक दिन बिहान ५ बजेदेखि ६ः३० बजेसम्म योगसमेत सञ्चालन हुँदै आएको छ। प्रत्येक मङ्गलबार रगत परीक्षणसहित निःशुल्क मधुमेह क्लिनिक र मधुमेह, उच्च रक्तचाप तौल जाँच एवं परामर्श सेवा सञ्चालन हुँदै आएको छ।
केन्द्र परिसरमै ५० शय्याको अस्पताल निर्माणको प्रक्रिया सुरु भइसकेको छ। यसैगरी प्रादेशिक औषधि उत्पादन केन्द्रको भवन निर्माणको काम सम्पन्न भएर उपकरण खरिद र औषधि उत्पादनको प्रक्रिया अघि बढेको उनले बताए।
आयुर्वेद औषधि उत्पादन केन्द्रका निर्देशक डा सुरेश महर्जनले एक सय ३३ वटा जडीबुटीबाट ३६ प्रकारका औषधि र तेल उत्पादन गर्ने तयारी गरिएको बताए। उनका अनुसार स्वदेशी जडीबुटीको प्रयोग गरी औषधि तयार गरिने छ। त्यसमध्ये पनि ८० प्रतिशत स्थानीय जडीबुटी हुनेछन्।
अमला, हर्राे, बर्राे, बेसार, अदुवालगायतका ८० प्रतिशत जडीबुटी स्थानीयरूपमा नै उपलब्ध हुने उनको भनाइ छ। उनका अनुसार क्रमशः औषधिको सङ्ख्या बढाइँदै लगिने छ। उपकरण खरिदका लागि रु दुई करोड र कच्चा पदार्थ खरिदका लागि रु ६० लाख बजेट विनियोजन भइसकेको उनले जानकारी दिए।
केन्द्रले बिहीबार पत्रकारहरूसँग अन्तक्र्रिया कार्यक्रम आयोजना गरी आफूले गरेका गतिविधि र भावी योजनाबारे जानकारी दिएको हो। सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि रत्ननगर नगरपालिका-१ का अध्यक्ष कुलप्रसाद सापकोटाले केन्द्रको विस्तारका लागि विद्यालयसँग समन्वय गरेर थप जमिनको व्यवस्था गरिएको बताए। उनले रत्ननगरलाई आयुर्वेदिक उपचारको हब बनाउन नगरपालिका लागिपरेको भन्दै आयुर्वेद विद्यालय सञ्चालनका लागि छलफल भइरहेको बताए।
केन्द्र सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र श्रेष्ठले रोगी बन्न नदिने योगदेखि उपचारसम्मको सेवाको महत्त्व बुझाउन सबै लाग्नुपर्ने बताए। उनले केन्द्रको सेवालाई अझै चुस्तदुरुस्त बनाउन आफू लागिपर्ने भन्दै सबैको सहयोगको अपेक्षा गरे।रासस |
तराईमा एक हप्तादेखि शीतलहर, जनजीवन कष्टकर काठमाडौं। तराईमा सातादेखिको जारी शीतलहरले जनजीवन कष्टकर बन्दै गएकाे। मौसम पूर्वानुमान महाशाखाका अनुसार १७ पुदेखि तराईमा शीतलहर चल्न थालेको हो।
नेपालगन्जदेखि सिमरा क्षेत्रमा शीतलहर बढ्दै गएको र नेपालगन्जदेखि महेन्द्रनगरमा पनि सुरु भएको महाशाखाले जनाएको छ। सिमराभन्दा पूर्वको तराईमा न्यूनतम तापक्रम घटेर चिसोको लहर बढेको छ।
महाशाखाले शीतलहरको अवस्था केही दिन कायमै रहने जनाएको छ। पछिल्ला दिनमा तराईमा दिनभर हुस्सु-कुहिरो लाग्दै आएको छ। आज बिहान पनि तराईमा बाक्लो हुस्सु छ।
हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। दिउँसो प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने आकलन महाशाखाले गरेको छ। पश्चिम र मध्यतराईका धेरै स्थानमा हुस्सु-कुहिरो लाग्ने सम्भावना छ। |
अवैध गाँजा र अफिमखेती नष्ट चितवन । जिल्लाको पहाडी क्षेत्रमा लगाइएको गाँजा र अफिमखेती प्रहरीले नष्ट गरेको छ । राप्ती नगरपालिकामा २० बिघामा लगाइएको गाँजा र सात कठ्ठामा लगाइएको अफिम नष्ट गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीको नेतृत्वमा गएको टोलीले दुई दिन लगाएर गाँजा र अफिम नष्ट गरेको हो ।
राप्ती नगरपालिका–११ स्थित थाकलटार, बराइनटार, डिहीटार, रेवतीखोला र वडा नं १२ स्थित तिरुवा, बड्यालपोखरी, होङपुङ, म्यातराङ र च्यात्राङमा अवैधरूपमा लगाएको गाँजा र अफिम नष्ट गरिएको हो । |
सचिव रेग्मीद्वारा मालपोत कार्यालयको आकस्मिक निरीक्षण काठमाडौं । भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयका सचिव डा दामोदर रेग्मीले डिल्लीबजार भूमिसुधार तथा मालपोत कार्यालयको दैनिक सेवाप्रवाह तथा अभिलेख व्यवस्थापनबारे आकस्मिक निरीक्षण गरी जानकारी लिएका छन् ।
देशका विभिन्न कार्यालयमध्ये डिल्लीबजार भूमिसुधार तथा मालपोत कार्यालयलाई सेवा प्रवाहको दृष्टिले संवेदनशील कार्यालयका रूपमा लिने गरिएको छ । त्यस अवसरमा सचिव डा रेग्मीले डिल्लीबजार मालपोत कार्यालयका प्रमुख रामकृष्ण उप्रेती र कर्मचारीलाई सेवाप्रवाह गुनासोरहित, झन्झटमुक्त र पारदर्शी तवरबाट कार्यसम्पादन गर्न निर्देशन दिए ।
उनले भूकम्पले कार्यालयका धेरै भित्ता चर्किएको र सोको तत्काल सुधार गर्न तथा अभिलेख व्यवस्थापनका लागि आवश्यक रकम प्रस्ताव गरी पठाउन सुझाव दिए । डिल्लीबजार मालपोत कार्यालयमा विभिन्न जिल्लाको जग्गाको ऐतिहासिक तथा प्रामाणिक अभिलेख, ऐतिहासिक अभिलेख तथा पुराना रजिस्ट्रेसन अभिलेख गरी एक लाखभन्दा बढी लिखतसहितका कागजात रहेका छन् ।
देशका सबै मालपोत कार्यालयमा करिब २० लाखको हाराहारीमा यस्ता लिखत अभिलेखहरू रहेको अनुमान गरिएको छ । तत्कालीन बाइसे–चौबिसे राज्य र राणाकालीन प्रमाणका दृष्टिले यी अभिलेखहरू दीर्घकालसम्म सुरक्षित राखिनुपर्ने भए पनि यिनीहरूको विद्युतीय प्रति नहुँदा कागज च्यातिने र हराउने उत्तिकै सम्भावना छ ।
त्यस अवसरमा सचिव डा रेग्मीले यस्ता ऐतिहासक महत्त्वपूर्ण अभिलेखहरूको संरक्षण गर्ने व्यहोरोपयोगी कार्ययोजना तत्काल तयार गरी कार्यान्वयनमा ल्याउन विभाग र मातहतका निकायलाई निर्देशन दिए। सचिव रेग्मीले विभागको विद्युतीय प्रणालीलाई प्रभावकारी बनाउन र मालपोतको सेवा प्रवाहमा हुन सक्ने अनियमितता रोक्न विद्युतीय प्रणालीको सेवालाई प्रभावकारी बनाउन आवश्यक रहेको बताए ।
उनले राष्ट्रिय भूमि आयोगको निरीक्षण गरी काम कारबाहीबारे पनि आजै जानकारी लिए । भूमि आयोगका सदस्य सचिव विदुर खनालले मन्त्रालय र सरकारको लक्ष्य पूरा गर्न र मन्त्रालयको साख बढाउन प्रतिबद्ध रहेको बताए । |
भिडभाड हुने स्थान र सार्वजनिक यातायातमा स्वास्थ्य सतर्कता अपनाउन अनुरोध लमजुङ । कोभिड–१९ संक्रमण जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय लमजुङले सतर्कता अपनाउन अनुरोध गरेको छ ।
नेपालमा संक्रमण कम हुँदै गए पनि विश्वव्यापी रूपमा हेर्दा छिमेकी राष्ट्रलगायतका केही देशहरूमा संक्रमणको नयाँ स्वरूप देखापरेकाले सतर्क रहन भनिएको छ । नेपालमा पनि जोखिम बढ्न सक्ने भन्दै समयमै सजग र सूसूचित हुन आवश्यक रहेको कार्यालयले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी भूमीश्वर पोखरेलले सूचना सार्वजनिक गर्दै नागरिकमा सतर्क रहन भनिएको छ ।
बढी भिडभाड हुने स्थान तथा सार्वजनिक यातायातको साधनहरूमा मास्क तथा स्यानीटाइजरको प्रयोग गर्न प्रशासनले आग्रह गरेको छ । एक अर्कामा भौतिक दूरी कायम राख्न, व्यक्तिगत सरसफाइलगायतको आवश्यक स्वास्थ्य प्रोटोकलको पूर्ण पालनाका लागि नागरिकलाई सचेत गराएको छ । |
गौरीगंगा नगरपालिकामा भोलिदेखि जाडो बिदा धनगढी । कैलालीको गौरीगङ्गा नगरपालिकाले भोलिदेखि जाडो बिदा दिएको छ ।
चिसो तथा सितलहरका कारण विद्यार्थीको स्वास्थमा असर पर्ने भन्दै नगरपालिकाले पुस २२ गतेदेखि पुस २४ गते सम्म जाडो बिदा दिएको सूचनामार्फत जानकारी गराएको छ । नगरपालिका भित्रका शैक्षिक संस्थाहरु आइतबारसम्म बन्द हुनेछन् ।
|
जिल्ला प्रशासन कार्यालय काठमाडौंले सुरु गर्यो ‘टाइम कार्ड’ काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले जिल्ला प्रशासन कार्यालय काठमाडौंका भइरहेका सेवा प्रवाहको अवस्थाका बारेमा जानकारी लिएका छन् ।
बिहीबार काठमाडौं प्रशासन कार्यालय पुगेर लामिछानेले बिभिन्न सेवामा सुरु गरिएको ‘टाइम कार्ड’को कार्यान्वयनको अवस्था र अन्य सेवा प्रवाहका बारेमा जानकारी लिनुभएको हो । सो क्रममा उपप्रधान एवं गृहमन्त्री लामिछानेले सेवा प्रवाहरुलाई थप प्रभावकारी बनाउन निर्देशन दिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जानकारी दिए ।
उनले प्रशासन कार्यालयले सहज रुपमा सेवा दिनका लागि मन्त्रालयबाट आवश्यक सहयोग हुने समेत गृहमन्त्रीबाट प्रतिवद्धता आएको बताए । प्रमुख जिल्ला अधिकारी उपाध्यायले प्रशासनबाट हुने सेवालाई समयवद्ध गर्दै नागरिकलाई सहज बनाउन १० वटा सेवामा ‘टाइम कार्ड’ लागू गरिएको जानकारी दिए ।
प्रशासन कार्यालयले नागरिकता प्रमाणपत्र र नाबालक परिचयपत्र १ घण्टाभित्र, संस्था नवीकरण ३० मिनेटभित्र, राहदानी वितरण १५ मिनेटभित्र, राष्ट्रिय परिचयपत्र कार्ड वितरण ३० मिनेटभित्र , प्रशासनबाट हुने सिफारिसपत्र १ घण्टाभित्र, मुद्दाको पेशी र तारेख ३० मिनेटभित्र उपलव्ध हुने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए । |
गण्डकी प्रदेशमा सरकार गठनका लागि आह्वान कास्की । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सरकार गठनका लागि आह्वान गरेका छन् ।
नेपालको संविधान, २०७२ को धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेशसभा सदस्यलाई गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्तीका लागि उनले आह्वान गरेका हुन् ।
सरकार गठनका लागि २०७९ साल पुस २५ गते सोमबार १६ः०० बजेभित्र दाबी पेश गर्न प्रदेश प्रमुखले आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
मुख्यमन्त्री नियुक्तीका लागि नेपालको संविधान, २०७२ को धारा १६८ को उपधारा (१) बमोजिम कुनै पनि दलको स्पष्ट बहुमत प्राप्त नभएकाले उपधारा (२) बमोजिम आह्वान गरिएको हो । |
प्रदेशको राजधानीमा आवश्यक पूर्वाधार निर्माणका लागि १२ विघा जग्गा प्राप्त: मन्त्री कार्की {भिडियो} मोरङ। प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले सरकार बनाउन पहल नगरी जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन्। उनले विगत १४ महिनाको कार्यकालमा गरिएको कामका सम्बन्धमा जानकारी गराउन आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा आगामी दिनमा जनताको पक्षमा आवाज उठाउँदै जिम्मवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने प्रष्ट पारे ।
मन्त्री कार्कील विराटनगरलाई स्थायी राजधानीका लागि आवश्यक पूर्वाधार निर्माण गर्न महानगरपालिकाले डङग्राहामा पाँच विघा,प्रदीप श्रेष्ठले वडा नं ५ मा पाँच विघा र दिक्षान्त पोखरेले वडा नं ६ मा दुई विघा जग्गा निःशुल्क दिने प्रतिवद्धता जनाएको जानकारी दिए । उनले शान्तिसुरक्षाको कार्य सम्पादनमा प्रदेश नं १ सात प्रदेशमध्ये पहिलो भएको बताउदै मन्त्रालयमा सुशासन कायम गरी वेरुजु शुन्य मन्त्रालय बनाएको दावी गरे ।
विराटनगरलाई डुवानमुक्त बनाउन केसलिया (वुढीनदी) को व्यवस्थापन तथा रानी दुहवी करिडोर निर्माणका लागि गुरुयोजना निमार्ण भई निर्माण प्रक्रिया शुरु गरेको बताए । उनले आफ्नो कार्यकालमा तीन तहको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गराई सङ्घीयताको सफल कार्यान्वयनमा सहयोग पुर्याउन सबैको सहयोग प्राप्त भएकोमा धन्यवाद समेत ज्ञापन गरे ।
हेर्नुहोस् भिडियो:
|
चार वर्ष बित्दा पनि सुध्रिएन कर्णाली प्रदेश यातायात कार्यालय सुर्खेत। स्थापनाको चार वर्ष पुरा हुँनै लाग्दा यातायात व्यवस्था कार्यालय कर्णाली प्रदेशकाे गन्जागोल अवस्थामा सुधार हुन सकेकाे छैन। भौतिक पूर्वाधारदेखि जनशक्ति अभावसम्म, ट्रायल सेन्टर अभाव देखि भिडभाड कुनै पनि प्रक्रियामा सुधार हुन सकेकाे छैन।
सेवाग्राहीको चाप बढे पनि यहाँ काम गर्ने तरिका नमिल्दा सेवाग्राही दैनिक निराश भएर फर्कने गरेका छन्। जुम्लामा रहेको उक्त चार वर्षअघि कार्यालय सुर्खेतमा सारिएको थियो। जनशक्ति र पूर्वाधारको अभावले सेवा प्रवाहमा असहज भइरहेको कार्यालयका निमित्त प्रमुख आनन्द चपाईंको गुनासो छ। अहिले करारमा कर्मचारी राखेर काम चलाए पनि दक्ष जनशक्ति नभएकाले काम गर्न मुस्किल भएको उनको भनाइ छ।
देश संघीयतामा गएपछि ०७५ मा प्रदेश सरकार मातहत सञ्चालन हुनेगरी यातायात व्यवस्था कार्यालय बनाइएको थियो। प्रदेश कार्यालय भए पनि यहाँ काम गर्ने दरबन्दी भने पुरानै छ। कार्यालयले हाल १२ प्रकारका सेवा दिने गरेको छ। लाइसेन्स वितरण, लाइसेन्स नवीकरण, सवारी साधन जाँच, रूट परमिट, भाडा निर्धारणलगायतका सेवा दिने गरिएको छ।
यातायात कार्यालयमा कम्तिमा पनि २५ जनाको दरबन्दी हुनुपर्ने भए पनि १५ जना कर्मचारीको स्थायी दरबन्दी रहेको कार्यालयमा आठ जना कर्मचारीको भरमा काम हुँदै आएको छ। बाँकी सात जना स्थायी कर्मचारीको दरबन्दी खाली रहेको छ। कार्यालय प्रमुख समेत उपसचिव हुनुपर्ने व्यवस्था भए पनि वर्षाैंदेखि निमित्तको भरमा कार्यालय सञ्चालन हुँदै आएको छ।
सेवालाई गुणस्तरिय गराउन प्रविधिमैत्री हुने भनिए पनि कर्मचारीहरूलाई आवश्यक तालिम र उपकरणको व्यवस्थासमेत नहुँदा काममा समस्य पर्दै आएको छ। निमित्त प्रमुख चपागाईंले बिचौलियाको बढ्दो हस्तक्षेपले कार्यसम्पादन प्रक्रियामा नै असहज बनेको बताए। उनले कार्यालयमा तीन किसिमका बिचौलियाको प्रभाव देखिने गरेको बताए। उनले भने, ‘यहाँ तीन प्रकारका दलालहरूको बिगबिगी छ, बिचौलियाको प्रवेश रोक्न थुप्रै प्रयास गरियो, तर सफल हुन सकिएको छैन।’
लाइसेन्सको प्रयोगात्मक परीक्षा लिन निजी कम्पनीको ट्रायल सेन्टर भाडामा लिएर काम गरिएको छ। आफ्नो कुनै सरकारी संरचना नहुँदा निजी क्षेत्रसँग सम्झौता गरेर प्रयोगात्मक परीक्षा सञ्चालनको व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ। माघ ०७६ देखि सुर्खेतबाटै लाइसेन्स वितरणको काम सुरु गरिए पनि कार्यालयसँग लिखित परीक्षा सञ्चालन गर्ने हल नहुँदा परीक्षर्थीले लिखित परीक्षा खुलाचौरमा बसेर दिने गरेका छन्।
वीरेन्द्रनगर–५ स्थित गणेशचोकमा ट्रायल सेन्टर निर्माणको काम भइरहेको कार्यालयले जनाएको छ। अहिले निजी कम्पनीले सम्झौताअनुसार प्रतिस्कुटर तथा मोटरसाइकलको दुई सय र गाडीको पाँच सय इन्ट्रि शुल्क लिँदै काम गरिरहेको छ। |
भैरहवा भन्सारमा हुँदैन खाद्यन्नकाे गुणस्तर परीक्षण, उपभोक्ताकाे स्वास्थ्यमाथि खेलबाड भैरहवा। भैरहवा भन्सार हुँदै भित्र्ने खाद्यन्नको ल्याब परीक्षण नै नभई भित्रिने गरेको छ। उपभोक्ताले सिधैँ प्रयोग गर्ने चामल, दाल, गहुँ, गेडागुडी, दलिया, मकै, तोरी, सुक्खा फलफुल (काजु, बदाम)लगायतका वस्तुको खाद्य परीक्षण नै नभई नेपाल भित्रिने गरेको हो।
भारत वा तेस्रो मुलुकबाट भित्रिने जुनसुकै खाद्यवस्तु वैध तरिकाले भित्रिदा खानयोग्य छ कि छैन भनि परीक्षण गर्नुपर्छ। परीक्षणमा सरकारले तोकेको मापदण्ड पुरा भए भन्सार कार्यालयमार्फत भित्रिने हुन्छ । तर, भैरहवा भन्सार हुँदै आयात भएका यस्ता खाद्यवस्तुको क्वारेन्टिन जाँच मात्रै हुने गरेको छ।
सरकारले खानयोग्य वस्तु मात्रै भित्रि्योस् भन्ने उद्देश्यले खाद्य गुणस्तरका लागि प्रमाणीकरण कार्यालय स्थापना गरेको छ। भैरहवा भन्सारनजिकै रहेको खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय बेलहियाले ती वस्तुको ल्याबटेस्ट गर्ने भनिए पनि त्यस्ता वस्तु त्यहाँ जाँच नभई सिँधै उपभोक्तको भान्सामा पुग्ने गरेको छ।
कुनै पनि खाद्य वस्तु खानयोग्य छ कि छैन भनि गुणस्तर जाँच हुन्छ। खानयोग्य मापदण्डमा भए मात्रै भित्रिन्छ। अन्य तयारी खाद्यवस्तु चाउचाउ, चकलेट, बिस्कुटलगायत परीक्षण भए पनि खाद्यन्नको गुणस्तर परीक्षण नै नभई भित्रिने गरेको छ।
कार्यालयले चालु आर्थिक वर्षमा हालसम्म चार हजार नाै सय २९ वटा तयारी खाद्य वस्तु परीक्षण गरेकोमा दुई वटा खान अयोग्य भई भन्सारबाट फिर्ता पठाइएको छ। परीक्षणबाट खानयोग्य भएपछि करिब ११ हजार मेट्रिक टन खाद्यवस्तु भैरहवा भन्सार हुँदै भित्रिएको छ। भित्रिएका ती वस्तुमध्ये कृषिजन्य खाद्य वस्तु नभई तयारी वस्तु मात्रै रहेको छ।
भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्षमा मात्रै करोडौं मूल्य बराबरको खाद्यान्न भन्सार जाँचपास गरी नेपाल पठाएको छ तर पठाएका ती वस्तुमध्ये कुनैको खाद्य गुणस्तर परीक्षण भएको छैन।
भन्सार विभागले जारी गरेको एकद्वार प्रणलीअन्तर्गतको सिस्टममा अनलाइनमार्फत के कस्तो वस्तु हो त्यसको अवस्था हेरेर परीक्षणका लागि पठाउने गरेको छ। तयारी खाद्यवस्तु खाद्य प्रमाणीकरण कार्यालय, पशुजन्य खाद्य वस्तु पशु क्वारेन्टिन कार्यालय र कृषिजन्य खाद्यवस्तु प्लान्ट क्वारेन्टिन कार्यालयबाट परीक्षण भई स्वीकृति गरेमा मात्रै भन्सार जाँचपासको प्रक्रिया अगाडि बढ्छ तर उपभोक्ताले सिधैँ प्रयोग गने केही वस्तु चामल, दाल, गेडागुडी, मकै, तोरी, चियालगायतका वस्तु खाद्य गुणस्तरका लागि स्थापना भएको कार्यालयमा परिक्षण नै नभई भन्सार कार्यालयले जाँचपास गर्ने गरेको छ।
खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय बेलहियाका प्रमुख रविन्द्र झाका अनुसार कार्यालयमा हालसम्म कुनै खाद्यान्नको नमुना परीक्षण नगरेको बताए। उनले भने, ‘हामीले तयारी खाद्यवस्तुको परीक्षण चालु आवमा करिब पाँच हजारको गरे पनि खाद्यन्नको परीक्षण गरेका छैनौँ। खाद्यान्न पनि भैरहवा भन्सार नाकाबाट आयात भइरहेका छन्। तर भन्सारले नमुना विश्लेष्णका लागि नपठाएकोले हालसम्म कुनै खाद्यान्नको परीक्षण भएको छैन।’
यस भन्सारबाट आउने खाद्यन्नको गुणस्तर परीक्षण नहुने भएकोले तस्करी र खुला सीमाबाट आउने खाद्यन्न सरह हुने गरेका छन्। गुणस्तरहीन खाद्यन्न पनि सहजै नेपाल भित्रिएर उपभोक्ताले प्रयोग गरिरहेका छन्। जसले उपभाेक्ताकाे स्वास्थ्यमा गम्भीर असर परिरहेकाे छ।
भन्सार जाँचपास अनलाइनबाट हुने भन्सार प्रमुखकाे दाबी
भैरहवा भन्सार कार्यालयका प्रमुख मनिराम पौडेलले भैरहवा भन्सार कार्यालयले अनलाइन प्रणालीमार्फत भन्सार जाँचपास गर्ने गरेको बताए । भन्सारको एकीकृत प्रणालीमा खाद्य गुणस्तर परीक्षणको अनलाइन प्रणाली समाविष्ट भएअनुसार नाकाबाट भित्रिएने खाद्यवस्तुको प्लान्ट र विषादी परीक्षण हुने गरेको बताए। परीक्षणविना भन्सार जाँचपासको प्रक्रिया सुरु नहुने उनकाे दाबी छ।
कृषि मन्त्रालयअन्तर्गतको खाद्य प्रमाणिकरण कार्यालय र प्लान्ट क्वारेन्टिनको कार्यविभाजनका कारण परीक्षणमा केही समस्या आएको छ। कृषि मन्त्रालयले भन्सार विभागलाई अफलाइनबाट परीक्षण गर्न भने विभागको परिपत्रअनुसार खाद्यन्नको गुणस्तर पनि परिक्षण गर्ने उनले बताए। उनले भने, ‘सिस्टममा त्यो व्यवस्था नभएकोले कृषि मन्त्रालयको विवाद हामीमाथि दोषारोपण गर्न खोजियाे।’
प्लान्ट क्वारेन्टिन तथा कीटनाशक व्यवस्थापन केन्द्र भैरहवाका प्रमुख कुलदीप घिमिरेले रोग किरा र झारपात जस्ता क्वारेन्टिन परीक्षण मात्रै गर्ने गरेको बताए। खाद्य वस्तुको गुणस्तर हेर्ने काम आफ्नाे नभएको र गुणस्तर हेर्न पनि नभनिएको उनले बताए। खाद्यान्नमा विष, छ वा रंग मिसाइएको छ छैन भनेर हेर्न विशेषज्ञ नहुने उनकाे भनाइ छ। |
चिसोमा सुरक्षित रहन मनाङ प्रशासनको आग्रह लमजुङ। मनाङमा हिमपात नभए पनि अत्यधिक चिसो बढेकाले सुरक्षित रहन आग्रह गरिएको छ। चिसो बढेसँगै जिल्ला प्रशासन मनाङले सूचना जारी गरी सुरक्षित रहन आग्रह गरेको हो।
जाडो याममा चिसोबाट जोगिन न्यानो कपडा लगाउन, हिमपात तथा अत्यधिक चिसोको समयमा घरबाहिर लामो समय नबस्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी सुप्रभा खनालले बताइन्। उनका अनुसार हिमपातको समयमा न्यानो कपडा, सिरक, कम्बलजस्ता कपडाको प्रयोग गर्न अनुरोध गरिएको छ।
हिमपातको समयमा चिसो बढ्ने तथा अत्यधिक हुरी/बतास चल्ने भएकाले न्यानो भएर बस्न सुझाव दिइएको उनले बताए। हिमपातपश्चात् हिम पहिरा जान सक्ने भएकाले त्यस्ता सम्भावित जोखिमयुक्त क्षेत्रतर्फ नजान अनुरोध गरिएको छ।
चिसोमा बालबालिका, वृद्धवृद्धा तथा गर्भवती महिलाको विशेष ध्यान राख्न र हिमपातको समयमा घरेलु पशुपन्छीलाई सकेसम्म बाहिर खुला नछाड्न सूचित गरिएको छ। पशुपन्छीलाई गोठ तथा टहरामा राखेर घाँस, पराल तथा दाना दिने व्यवस्था गर्न भनिएको छ।
चिसो मौसममा कोभिड–१९ को नयाँ भेरियन्टको सङ्क्रमण बढ्न सक्ने हुँदा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न भनिएको छ ।होटल तथा कोठामा आगो, हिटर तथा गिजर प्रयोग गर्नुपर्दा पर्याप्त मात्रामा भेन्टिलेसनको व्यवस्था गर्न सूचनामार्फत जिल्लावासीलाई अनुरोध गरिएको छ। चिसो बढेसँगै हुनसक्ने जोखिम न्यूनीकरणका लागि पूर्वतयारी रहन जिल्लावासीमाझ अनुरोध गरिएको हो। |
गाउँ फेरिएर बजार बनेको ‘खौलारा’ ढोरपाटन। “विकास हुन धेरै समय लाग्दो रैनछ, यो गाउँ यति छिट्टै फेरियो, विगतलाई सम्झिँदा यस्तो होला भन्ने कसैले कल्पाना गरेका थिएनौँ”, बडिगाड गाउँपालिका-५ का ७१ वर्षीय चूडामणि घिमिरे गाउँ फेरिएकोमा दङ्ग छन्।
दुई दशकअगाडिसम्म सनुसान गाउँ रहेको खौलारा अहिले स्वरुप बदलेर बजार बनेको छ। मध्यपहाडी लोकमार्ग खौलाराको मध्यभागबाट हुँदै गए पछि यहाँ थुप्रै विकासका सम्भावना पनि खुलेका छन्।
करिब २३ वर्ष अगाडि मध्य पहाडी लोकमार्गको ट्रयाक खुले पनि एक दशक अगाडिसम्म बस्ती विस्तार भएको थिएन। अहिले बजार बनेको यो ठाउँमा स्थानीयले धान, गहुँ, तोरीलगायतका खाद्य बाली उत्पादन गरी यहीबाट जीवन चलाउथे। पाँचवर्ष अगाडि जब लोकमार्ग कालोपत्रे भयो तब यहाँ तीव्ररुपमा बजार विस्तार भयो। अहिले खौलाराको चारैतिर ठूला-ठूला घर भवन निर्माण भइरहेका छन्।
पहिले अन्न उत्पादन हुने ठाउँमा अहिले बजार विस्तार हुँदा खुसी लागेको चूडामणि बताउँछन्। उनले लोकमार्गले जोडिएपछि यो ठाउँका मुहार फेरिएको बताए। सडकले नजोडिँदा यहाँ चार/पाँच वटामात्रै घर रहेको स्मरण गर्दै अहिले ठूला–ठूला सहरमा जस्तै भवन बनेको घिमिरेले सुनाए। अब नुन बोक्न बुटवल जानै नपर्ने उनको भनाइ छ।
“खौलारामा धेरै राम्रो धान फल्थ्यो, समथर ठाउँ थियो, यो गाउँका मान्छेले यही धान, गहुँ उत्पादन गरेर जीविका चलाउथे, अहिले मोटर गाडी आए, धान फल्ने ठाउँमा बजार बन्यो, गाडी गुड्छन्, पहिलेको खौलारा र अहिलेको खौलारामा आकाश पातल फरक छ”, घिमिरेले भने, “खेती मासियो, घर भवन ठडिए, दिनदिनै घर बनेका छन्, पछिपछि त यहाँ खाली ठाउँ देख्नै पाइन्न होला।”
उनले सडक नआउँदा घण्टौँ यात्रा गरेर दैनिक उपभोग्य सामान ढुवानी गर्ने स्थानीय अहिले घरै अगाडि सबै सामान किनमेल गर्न पाएको बताए। बजार बन्न थालेपछि आवश्यक सामान सबै यही पाइन थालेको घिमिरेको भनाइ छ। उनले अब सामान्य कामका लागि गाउँ छोडेर टाढा जानुपर्ने बाध्यताको अन्त्य भएको बताउँछन्।
उनले भने, “हाम्रो पालामा सामान्य नुन, तेल किन्न पनि बटौली (बुटवल) जानुपथ्र्यो, लत्ताकपडादेखि हामीलाई आवश्यक पर्ने सामान यहाँ पाइँदैनथ्यो, अहिलेको जस्तो पसल थिएनन्, बजार देख्न त कि बुटौलीनै जानुपथ्र्यो, कि सुनवल पुग्नुपथ्र्यो, अहिले भन्नुहुन्छ भने घरबाट बाहिर निस्किए बजार देखिन्छ, चाहिएको सामान सबै यहीँ पाइन्छ।”
स्थानीय देवीराम खरेलले लोकमार्गका कारण यो ठाउँसँगै स्थानीयको जनजीवन परिर्वतन भएको बताउँछन्। उनले सडक नआउँदा सामान्य कामको लागि हप्ता दिन हिँडेर सदरमुकाम बागलुङ बजार पुग्ने गरेको भन्दै अहिले तीन घण्टामै पुग्न सकिने बताए। सडकले नागरिकको जीवन सरल र सहज बनाउँदै गएको खरेलको भनाइ छ।
उनले भने, “सडक नआउँदा यहाँका जनताले धेरै सास्ती खेप्नुपरेको थियो, आजाभोलि दुई÷चार घण्टा लाग्ने स्थानमा पुग्न दुई/तीन दिन लाग्थ्यो, मान्छे बिरामी परेपछि डोकोमा बोकेर टाढा पुर्याउनुपथ्र्यो, सडकले अहिले धेरै कुरामा सहजता ल्याएको छ, पहिलेजस्तो सास्ती खेप्नुपर्ने अवस्था छैन, बिरामी परियो भने पनि गाडीमै एकैछिनमा औषद्योपचार गर्न गइन्छ, पहिलेको जस्तो उपचार नपाएर अकालमा मर्नुपर्ने अवस्था छैन, अब पहिलेको जस्तो बागलुङ बजार जान हप्ता दिन लाग्दैन।”
बडिगाडको सबै ठाउँ सडकले जोडिएको बताउँदै सडकले यहाँ उत्पादन भएका उत्पादित वस्तु बजारसम्म पुर्याउन सहज भएको उनले बताए। अहिले लोकमार्ग छेउछाउका जग्गामा धमाधम बस्ती विस्तार भइरहेको भन्दै यसरी बस्ती बढ्दै जाँदा सडक छेउका जग्गाको मूल्य निकै आकासिँदै गएको उनको भनाइ छ। सडक नआउँदा बाँझै रहेका जग्गा अहिले घडेरीमा परिणत भएको घिमिरेको भनाइ छ।
“सडकले स्थानीयलाई व्यावसायिक पनि बनाएको छ, पहिले गाउँमा उत्पादन हुने तरकारी तथा फलफूल निःशुल्क बाँड्ने चलन थियो, अहिले बजारसम्म ल्याएर थोरै भए पनि पैसा पार्ने बानी बस्दैछ”, उनले भने, “अहिले त लोकमार्गले छोएको जग्गा खाली छैनन्, कहीँ ठाउँ घर बने, कतै बन्दै छन् भने केहीँ ठाउँमा घडेरी निर्माण भएका छन्, पहिले बाँझो बनेका जग्गा पनि अहिले लाखौँ मूल्यमा बिक्री हुन थालेका छन्, खौलारामा सानादेखि ठूला–ठूला भवनले खाली ठाउँ ढाकिन थालेका छन्।”
बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले बजारलाई व्यवस्थित बजारका रुपमा विकास गर्न गाउँपालिकाले योजना बनाएको बताए। उनले पालिककै मुख्य बजारका रुपमा यस ठाउँ रहेको भन्दै अब यहाँ बन्ने कुनै पनि घर भवन मापदण्डविपरीत नबन्ने बताउँछन्। अब मापदण्डपालना गरेर मात्रै संरचना निर्माण हुने उनको भनाइ छ।
“यो बडिगाड गाउँपालिकाको मुख्य बजार हो, समथर र ठूलो भूगोल हुँदा यहाँ बस्ती विस्तार हुँदैछ र भविष्यमा जिल्लाकै ठूलो बजार हुने देखिन्छ, पछि अस्तव्यस्त बजार हुन नदिन हामीले अहिलेदेखि नै एउटा मापदण्ड बनाएर घर भवन निर्माण गर्ने कार्यविधि बनाएका छौँ, खौलारासँगै लोकमार्गले जोडिएका अन्य क्षेत्रमा बस्ती विस्तार भइरहेको छ, ती ठाउँमा घर भवन निर्माण गर्दा मापदण्डपालना गर्नुपर्ने छ”, उनले भने।
अध्यक्ष अधिकारीले बजारमा ढल, फोहोर व्यवस्थापनका, सिसी क्यामेरा र सोलार बत्ती जडान गर्ने योजना रहेको जानकारी दिए। बजारको सौन्दर्यकरणका लागि गाउँपालिकाले काम सुरु गर्न थालेको उनले बताए।
उनले भने, “जिल्लाका धेरै बजारमा पहिले योजना नबनाउँदा अहिले धेरै समस्या आएको पाइन्छ, त्यसले गर्दा हामीले यहाँको सौन्दर्यकरणका लागि के गर्ने फोहोर व्यवस्थापन कहाँ गर्ने, कसरी ढल व्यवस्थापन गर्न सकिन्छ भनेर अध्ययन गरी सकेका छौँ, अहिले बनाएको योजनाले दशकौँ वर्षपछिको बजार व्यवस्थापनलाई सहज बनाओस् भन्ने हाम्रो चाहना छ।”
उनले योसँगै खर्बाङ, न्वारा, खारा, भिमगिठेलगायत लोकमार्गले जोडिएका स्थानमा सिसी टिभी, सोलार बत्ती जडान गर्ने बताउनुभयो । यी ठाउँको सौन्दर्यकरणका लागि आवश्यक तयारी गरिरहेको अध्यक्ष अधिकारीको भनाइ छ। रासस |
बागमती : सभामुख र उपसभामुखको उम्मेदवारी दर्ता पुस २८ गते मकवानपुर । बागमती प्रदेशसभाको सभामुख र उपसभामुख पदको निर्वाचनको लागि यही पुस २८ गते बिहान उम्मेदवारी दर्ता गर्न समय निर्धारण गरिएको प्रदेशसभा सचिवालयले आज जनाएको छ ।
सभामुख र उपसभामुख पदको निर्वाचनको कार्यसूची अनुसार, पुस २८ गते बिहान १०ः३० बजेदेखि २ बजेसम्म आ–आफ्नो उम्मेदवारी दर्ता गर्ने समय निर्धारण गरिएको छ ।
यसैगरी, उक्त दिनको २ः३० बजेदेखि ३ः३० बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ । यसैगरी, सोही दिनको अपराह्न ४ बजेभित्र सभामुख र उपसभामुख पदको उँम्मेदवार दर्ता गरिएको अन्तिम नामावलीको सूची प्रकाशन गर्ने कार्यतालिका रहेको प्रदेशसभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिए ।
सभामुख र उपसभामुख पदको उम्मेदवारी निर्विरोध भएमा वा मतदान गर्नुपरेमा पुस २९ गते दिनको ११ बजे प्रदेशसभाको बैठक बोलाइएको छ भने सोही दिन चुनावी परिणाम घोषणा गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए ।
बागमती प्रदेशसभामा अहिले नेपाली कांग्रेसको ३७, नेकपा (एमाले)का २७, नेकपा ९माओवादी केन्द्र०का २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३, नेकपा (एकीकृत समाजवादी)का सात, नेपाल मजदुर किसान पार्टीका तीन र हाम्रो नेपाली पार्टीका दुई गरी एक सय १० जना प्रदेशसभाका सदस्य छन् । |
सात पटक म्याद थप, अझै बनेन सडक, ठेकेदार बेपत्ता हेमन्त केसी
सुर्खेत । पाँच वर्ष पहिला निर्माण सुरू गरिएको रुकुम पश्चिम मुसीकोट नगरपालिकामा रहेको शीतलपोखरी–झुल्खेत–चुन्वाङ सडकखण्डको म्याद सात पटक थप गरिएपनि ठेकेदार सम्पर्कविहिन भएका छन् ।
ग्रामीण सडक सञ्जाल सुधार आयोजनाअन्तर्गत सञ्चालित उक्त सडकखण्ड निर्माणका लागि पि.एच./एस.एम.एन.एस. जेभीले जिम्मा लिएको थियो । ०७४ सालमा निर्माण सुरू गरिएको उक्त सडकखण्डको काम ठेकेदार कम्पनीको कारण बेलैमा हुन नसकेको आयोजना कार्यान्वयन इकाई रुकुमपश्चिमका व्यवस्थापक टंकप्रसाद खनालले जानकारी दिए ।
जम्मा १८ किलोमिटर लामो सडकखण्ड दुई वर्षमा निर्माणसम्पन्न गर्नका सुरुमा निर्माण कम्पनीसँग ०७४ सालमा सम्झौता भएको थियो । समयमै काम सम्पन्न हुन नसकेपछि शहरी विकास मन्त्रालय अन्तर्गतको स्थानीय पूर्वाधार विभागले आगामी जेठ ११ गतेसम्म अन्तिम म्याद राखेर सातौ पटक म्याद थप गरेको आयोजना प्रमुख खनालले जानकारी दिए । निर्माण कम्पनीका प्रमुख हेमराज गुभाजुसँग बारम्बार सम्पर्क गर्दा पनि सम्पर्कमा नआएको उनले बताए । ठेकेदारलाई सम्पर्कमा आउन र समयमै काम सम्पन्न गर्न आयोजना कार्यालयले सार्वजनिक रुपमै सूचना प्रकाशन गरेको समेत जनाईएको छ ।
आयोजना कार्यालयका अनुसार निर्माण कम्पनीले भ्याट सहित ८९ करोड ८० लाखको लागतमा शीतलपोखरी–झुल्खेत–चुन्वाङ र बालुवा–नयगाड जामाबगर–त्रिवेणी सडकखण्ड निर्माणका लागि सम्झौता गरेको थियो । हालसम्म सम्झौताको ६७ प्रतिशत भौतिक र करिब ४६ प्रतिशत वित्तिय प्रगति भएको आयोजना व्यवस्थापक खनालले उल्लेख गरे । शीतलपोखरी–झुल्खेत–चुन्वाङ सडकखण्डको १८ किलोमिटर सडकमध्य १५.५ किलोमिटर भूभागमा ट्रयाक खोलेर गाडि समेत सञ्चालन हुने गरेका छन् । जंगल र भिरको भूगागमा ट्रयाक खोल्न बाँकि रहेको छ । ठेकेदार कम्पनीले हालसम्म उक्त सडकखण्डको ६ किलोमिटरसम्म बेस कालोपत्रे र १३ किलोमिटर सडकको बेस र नाली निर्माणसम्पन्न गरिसक्नुपर्ने भएतापनि काम नै सुरु भएको छैन ।
गत असारमा सकिएको म्याद पुनः थप गरेपछि ठेकेदार कम्पनी निर्माणस्थलमा नआएको मुसीकोट नगरपालिका–१० का वडा अध्यक्ष धनबहादुर खड्काले बताए । तिब्र गतिमा हुनुपर्ने काममा ठेकेदारको लापरबाही भएको उनले बताए । सडकको ट्रयाक खोलिएको गलमपाटी गाउँसम्म सदरमुकामबाट वर्षायाम बाहेक नियमित गाडि आउजाउ हुने गरेको वडा अध्यक्ष खड्काले जानकारी दिए । वर्षाको अवधिभर सडकखण्डको विभिन्न भागमा आएको पहिरोले बाटो अवरुद्ध भएको र वडा कार्यालयले आफ्नो खर्चमा बाटो सुचारु गर्नुपरेको उनले उल्लेख गरे । निर्माणको कामगर्ने बेलामा सडकखण्डमा मुख्य ठेकेदारको उपस्थिति नभएको उनले जनाए ।
बाटोको ट्रयाक मात्र खोलेर गाडि चल्दा पनि स्थानीयवासी हर्षित भएका छन् । गाउँको उत्पादन बजारीकरण, बजारमा आउजाउ, खाद्यन्न ढुवानी लगायतका काममा सडक बनेपछि सहज भएको वडा नम्वर १० का पूर्व अध्यक्ष गोपेश्वर केसीले जानकारी दिए । उनका अनुसार उदेश्य र लक्ष्यअनुसार समयमै सडक निर्माण भएमा यसले जनताको जीवनस्तर उकास्न मदत मिल्नेछ । |
अलपत्र बहुउद्देश्यीय सभाहल लागुऔषध सेवनकर्ताकाे अखडा बन्दै जुम्ला। जुम्ला सदरमुकाममा रहेको निर्माणाधीन बहुउद्देश्यीय सभाहल लागुऔषध सेवनकर्ताको अखडा बनिरहेको छ। जिल्लाकै गौरवको आयोजना मानिएको सभाहल निर्माण पूरा नहुँदा बेवारिसे बनेको हो।
सभाहलमा बिहानदेखि नै लागु औषध प्रयोगकर्ताहरूको चहलपहल सुरू हुन्छ। त्यसमध्ये अधिकांश विद्यालयस्तरमा पढ्ने विद्यार्थी हुने गरेको स्थानीयको भनाइ छ।
तत्कालीन शान्ति तथा पूननिर्माण मन्त्रालयले जिविस, जिल्ला प्राविधिक कार्यालयमार्फत आर्थिक वर्ष २०७१/०७२ मा आयोजना सम्झौता गरी निर्माण थालिएको थियो। सम्झौताअनुसार ६ भदौ ०७४ मै सभाहल हस्तान्तरण भैसक्नु पर्ने हो।
भवन निर्माणमा कसैको ध्यान नजाँदा लागुऔषध दुर्व्यसयीको अखडा बनेको पत्रकार महासंंघ जुम्लाका अध्यक्ष नेत्रबहादुर शाही बताउँछन्। विद्यालय पोसाकमै बालबालिकाले लागुपदार्थ सेवन गर्दा पनि रोक्ने कोही नहुने उनको भनाइ छ।
यसअघि जिल्ला प्रहरी जुम्लाले केही युवालाई नियन्त्रणमा लिएर सोधपुछ गरी अभिभावको जिम्मा लागाएको थियो। दुईजनालाई त प्रहरीले केही दिनअघि प्रकाउ समेत गरेको जनाएको छ।
निर्माण पूरा नहुँदै भत्किन थाले भवन
सभाहल निर्माण नसकिए पनि यहाँका अन्य भौतिक संरचना भने भत्किन समेत थालेका छन्। लामो समयदेखि सभाहल अलपत्र भए पनि जनप्रतिनिधि र कर्मचारीले निर्माण गर्न पहल गरेका छैनन्।
जुम्लामा एक नगरपालिका र सात गाउँपालिका छन्। एउटा जिल्ला समन्वय समिति छ। नगर र गाउँपालिका प्रमुख विकास निर्माणमा लगिरहेको बताइरहेका छन् ।
०७४ सालमा निर्वाचित समन्वय समितिका प्रमुख लालबहादुर सार्की र उपप्रमुख कार्मा बुढाले अलपत्र सभाहल निर्माण हुन्छ र पहल गरेका छौँ भनेको पनि वर्षौ बितिसक्यो । उनीहरूको पदावधी सकिएयो तर अलपत्र सभाहल उस्तै छ।
३० वैशाख ०७९ मा दोस्रोपटक पनि स्थानीय तहको निर्वाचत भएको छ। निर्वाचित भएका जिल्ला समन्वय प्रमुख गौरीनन्द आचार्य र उपप्रमुख जनक थकालीले पनि सभाहल निर्माण गर्न प्रतिबद्धता जनाएका छन् ।
तर अहिलेसम्म ५८ प्रतिशत मात्र काम सकिएको छ । ६ करोड १९ लाख ४९ हजार ६०६ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। सम्झौता रकममध्ये तीन करोड ५९ लाख २५६ रुपैयाँ खर्च भइसकेको छ । उक्त भवनको निर्माण जिम्मा आशिष र थेगिम जेभी धनगढीले लिएको थियो। |
एसइईमा उत्कृष्ट अङ्क ल्याउने १३ विद्यार्थीले पाए रु चार लाख भत्ता पर्वत । कुश्मा नगरपालिकाले नगरभित्रका १३ विद्यार्थीका लागि छात्रवृत्तिस्वरूप झण्डै रु चार लाख वितरण गरेको छ ।
आर्थिक वर्ष २०७९र८० को वार्षिक नीति तथा कार्यक्रममा समावेश भएको ‘नगरप्रमुखसँग विद्यार्थी पहिचान कार्यक्रम’अन्तर्गत सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति दिइएको हो । नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङका अनुसार विसं २०७८ को एसइई परीक्षामा सामुदायिक विद्यालयबाट तीनदशमलव६५ वा सोभन्दा माथिको जिपिए प्राप्त गरेका विद्यार्थीलाई उक्त रकम उपलब्ध गराइएको हो ।
अध्ययनमा अब्बल रहेका विद्यार्थीलाई प्रोत्साहन तथा कक्षा १२ सम्म सघाउनका लागि मासिक रु दुई हजार पाँच सयका दरले एक वर्षको रकम दिइएको थियो । योसँगै प्रतिविद्यार्थी रु ३० हजारका दरले कुल रु तीन लाख ९० हजार निकासा दिइएको गुरुङले बताए ।
यो सुविधा पाउनका लागि कुश्मा नगरपालिकामा रहेका १८ वटा माध्यमिक विद्यालयबाट एसइई परीक्षामा सहभागी भएको हुनुपर्ने शर्त राखिएको थियो । सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या कम हुँदै गइरहेकाले विद्यार्थी सङ्ख्या बढाउन कुश्मा नगरपालिकाका सामुदायिक विद्यालयबाट एसइईमा उक्त जिपिए ल्याएका विद्यार्थीलाई मात्रै सुविधा दिइएको हो ।
“सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई सहयोग पुगोस्, उसको अध्ययनमा थप प्रेरणा मिलोस् भनेर यो कार्यक्रम स्वीकृत गरिएकाले सोहीअनुसार कार्यान्वयन गरेका हौँ । यसले सामुदायिक विद्यालयमा अध्ययन गर्नका लागि पनि विद्यार्थीलाई प्रेरणा दिने छ”, अधिकृत गुरुङले भने, “वर्षमा रु ३० हजार आउनु पनि विद्यार्थीका लागि राम्रो हो । कुश्मा नगरपालिकाका १८ माविबाहेक अन्यत्रबाट उत्तीर्ण भएकाको हकमा यो कार्यक्रम लागू भएको छैन । रकम थोरै भए पनि उनीहरूको थप अध्ययनमा यसले सघाउ पुग्ने छ ।”
नगरसभाबाट पारित भएको उक्त कार्यक्रम नगरको चालु वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन भएसँगै लागू भएको नगरप्रमुख रामचन्द्र जोशीले बताए । सामुदायिक विद्यालयबाट एसइई परीक्षामा समावेश हुने कतिपय विद्यार्थी गरिब तथा विपन्न अवस्थाका हुने भएकाले सामुदायिक विद्यालयका लागिमात्रै कार्यक्रम लागू गरिएको उनको भनाइ थियो । यस्तो भत्ता एसइई पास भएर कक्षा १२ को पढाइ नसकिने बेलासम्म दिइने तथा कक्षा ११ बाट उत्तीर्ण हुन नसके छात्रवृत्ति भत्ता कटौती हुने गरी कार्यविधि बनाइएको पनि नगरप्रमुख जोशीले बताए ।
नगरपालिकाको शिक्षा शाखा प्रमुख विष्णुप्रसाद तिवारीका अनुसार छात्रवृत्ति प्राप्त गर्ने १३ मध्ये ११ जना सदरमुकाम कुश्माबजारमा रहेको नमूना विद्यालय नारायण माध्यमिक विद्यालयका अभिषेक लामिछाने, आविष्कार पौडेल, सौगात लामिछाने, मुन्दीप भुसाल, केबलकिशोर बाँस्तोला, सागरप्रसाद शर्मा, मानव पोखरेल, प्राची श्रेष्ठ, प्रशन्न श्रेष्ठ, निशा आचार्य र आशिष आचार्य हुन् । यस्तै हिमालय माध्यमिक विद्यालयका रविन सुनाम र शिवालय माध्यमिक विद्यालय कुश्माका सुप्रिम पौडेलले पनि छात्रवृत्ति पाएका छन् । |
जरायो मारेको आरोपमा पर्सा वन्यजन्तु आरक्षद्वारा प्रदेशसभा सदस्य जयसवालसँग लियो बयान बारा। पर्सा राष्ट्रिय निकुञ्जमा जरायो मारेको आरोप लागेका प्रदेश सभा सदस्य प्रमोद जयसवाल बयानका लागि निकुञ्ज कार्यालयमा हाजिर भएका छन्। उनीसँग निकुञ्जका अनुसन्धान अधिकारीले मंगलबार बयान लिएका छन्।
सोही घटनाको आरोपमा बयानका लागि पुगेका गाउँपालिका पूर्वअध्यक्ष प्रदीप जयसवालको बयान लिन भने बाँकी रहेको आरक्ष कार्यालय आधाभार बाराका सूचना अधिकारी सूर्य खड्काले जानकारी दिए।
प्रमोद ४ मंसिरको चुनावमा पर्सा ३ (१) बाट स्वतन्त्र उम्मेदवारी दिएर प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए। निकुञ्जको टोलीले मधेस प्रदेशसभा सदस्य प्रमोद जयसवालको नाममा रहेको फार्म हाउसमा गाडेको अवस्थामा चित्तलको टाउको, गोलीगठ्ठा, नाइट भिजन बाइनाकुलरलगायत सिकारमा प्रयोग हुने सामग्री बरामद गरेको थियो।
सिकार खेल्न जयसवाल इन्टरप्राइजेजको नाममा रहेको प्र २–०२–०३–००१ च ३०९० नम्बरको गाडी प्रयोग भएको निकुञ्ज स्रोतको दाबी छ । जयसवाल इन्टरप्राइजेज सखुवाप्रसौनी गाउँपालिकाका पूर्वअध्यक्ष प्रदीप जयसवालको नाममा दर्ता छ।
४ पुस राति निकुञ्जको सुरक्षामा खटिएको नेपाली सेना र शिकारी टोलीबीच अकुवनियास्थित आरक्षको कोर जंगलमा जम्काभेट भएको थियो। सेनाको टोलीलाई देखेपछि भागेका सिकारीको गाडीको चक्कामा गोली हानेर नेपाली सेनाले पाँचजनालाई पक्राउ गरेको र केही व्यक्ति भने फार्म हाउसतर्फ भागेका थिए। सिकारी टोलीलाई पछ्याउँदै गएको सेनाको टोलीले फार्म हाउसमा छापा मारेर सिकारमा प्रयोग हुने थप सामग्री बरामद गरेको थियो।
सेनाले अनुसन्धानका लागि बुझाएपछि निकुञ्जले त्यसदिन सिकारमा संलग्न रहेको आरोपमा पाँचजनासहित दुईवटा गाडी, सिकार खेल्न प्रयोग हुने सामग्री, सिकार गरी मारेको जरायोको मृत शरीर र चित्तलको टाउकोलगायत सार्वजनिक गरेको थियो।
अनुसन्धानका लागि काठमाडौं क्षेत्र नं ५ (२) बाट निर्वाचित प्रदेश सभा सदस्य तथा कांग्रेस नेता श्याम खड्कालाई पनि निकुञ्जले बोलाएको छ। खड्काको नाममा रहेको बन्दुक शिकारीको टोलीबाट बरामद भएपछि उनलाई पनि अनुसन्धानका लागि बोलाइएको हो।
काठमाडौं घर भएका खड्काको पर्साको सखुवाप्रसौनी गाउँपालिका–१ अकुवनियामा माछापोखरी छ। उनी अझैसम्म पनि बयानका लागि उपस्थित नभएको सूचना अधिकारी खड्काले जानकारी दिए। खड्काले मंगलबार एक विज्ञप्ति जारी गरी सो घटनामा आफ्नो कुनै संलग्नता नभएको जानकारी गराएका छन्। सो घटना हुँदा आफू काठमाडौंमै रहेको र सिकारमा प्रयोग गरेको बन्दुक आफ्नै लाइसेन्स प्राप्त भएको तर त्यो कसरी त्यहाँ पुग्यो भन्ने विषय अनुसन्धान गर्नुपर्ने उनको भनाइ छ। |
कालीगण्डकी नदीमा नियमित र्याफ्टिङ सञ्चालन बेनी। म्याग्दीको सदरमुकाम बेनी हुँदै बग्ने कालीगण्डकी नदीमा जलयात्राका लागि र्याफ्टिङ सञ्चालन गरिएको छ।
जलयात्राको सम्भावना उजागर गर्दै पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्यले बेनी नगरपालिका-९ गलेश्वरधामबाट सदरमुकाम बेनीको दोभान हुँदै मालढुङ्गा-नयाँ पुल भएर मिर्मी पुग्न सकिने गरी र्याफ्टिङ सञ्चालन गरिएको हो।
कालीपुलमा गण्डकी होटलका सञ्चालक गम पुनको पहल र सक्रियतामा स्पलास नेपाल एडभान्चरले मङ्गलवारदेखि औपचारिकरूपमा नियमित र्याफ्टिङ सञ्चालन गरेको हो। पहिलो दिन गलेश्वरबाट बेनीसम्मको करिब तीन किलोमिटर दूरीमा गरिएको जलयात्रा सफल भएको व्यवसायी पुनले बताए।
‘‘हिउँदयाममा नियमितरूपमै सञ्चालन गर्ने गरी र्याफ्टिङ सुरुआत गरेका छौँ, निकट भविष्यमा बेनीमा सञ्चालन हुने म्याग्दी महोत्सवले यसलाई थप प्रवद्र्धन गर्ने हाम्रो अपेक्षा छ, कम्तीमा गलेश्वरबाट बेनीसम्म नियमितरूपमै र्याफ्टिङ सञ्चालन गर्ने हाम्रो जमर्को रहेको छ”, उनले भने।
कालीगण्डकी नदीमा र्याफ्टिङ सञ्चालनमा आएसँगै जिल्लाका विभिन्न पर्यटकीयस्थलको भ्रमणमा आएका र बेनी हुँदै हिमालपारिको जिल्ला मुस्ताङको भ्रमणमा आउने पर्यटकलाई समेत आकर्षण गरेकोे छ।
र्याफ्टिङका लागि उत्तम मानिने कालीगण्डकी नदीको जलयात्राका साथै पहाडी भूगोल र तटीय क्षेत्रका बस्तीको अवलोकनले थप रोमाञ्चक गराउने भएकाले पर्यटकको आगमन बढ्ने स्पलास नेपाल एडभान्चरका गाइड सन्तोष गिरीले बताए।
कालीगण्डकी नदीमा राम्रो सम्भावना भएकाले जेठ महिनासम्म जलयात्रा सञ्चालनलाई निरन्तरता दिने तयारी गरिएको छ। पर्वतको नयाँ पुलबाट विगत १४ वर्षदेखि र्याफ्टिङ गर्दै आएका स्पलास नेपाल एडभान्चरका गाइड होम पुनले गलेश्वरबाट बेनीसम्मको करिब तीन किलोमिटर दूरीको जलयात्रामा पनि जोखिम कम र रोमाञ्चक बढी हुने भएकाले नियमित र्याफ्टिङ सञ्चालनको सम्भावना बढिरहेको बताए।
गलेश्वरबाट सुरु भई बेनी, पर्वतको मालढुङ्गा हुँदै नयाँ पुलसम्म जलयात्राको सम्भावनालाई उजागर गर्न कालीगण्डकीमा जलयात्रा सञ्चालन गरिएको उनले जानकारी दिए। गलेश्वरबाट बेनीको खुलामञ्चसम्म करिब तीन किलोमिटरको जलयात्राका लागि रु एक हजार दुई सय शुल्क तोकिएको छ। यसमा यात्रुहरूलाई खाजाको समेत बन्दोबस्त मिलाइएको छ।
अहिले तत्कालका लागि दुईवटा आठ-आठ जना यात्रु क्षमताको बोट सञ्चालनमा ल्याइएको छ। गलेश्वर-बेनीलाई प्राथमिकता दिइएको भए पनि यात्रु र पर्यटकको चाहनाबमोजिम मालढुङगाबाट नयाँ पुल हुँदै मिर्मीसम्म पनि जलयात्रा गराउन सकिने जनाइएको छ।
बेनीबाट मिर्मी तीन दिनको यात्रामा पुग्न सकिन्छ। म्याग्दी उद्योग वाणिज्य सङ्घको आयोजनामा यही पुस २८ गतेदेखि सञ्चालन हुने सातौँ म्याग्दी महोत्सवमा जलयात्रालाई समेत आकर्षणका रूपमा प्रचार-प्रसार गरिएको छ। रासस |
चिनी उद्योगको धुलोले स्थानीयलाई समस्या मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापश्चिम) को सुनवलमा रहेको लुम्बिनी चिनी उद्योगले प्रदूषण नियन्त्रण गर्ने उपकरण प्रयोग नगर्दा स्थानीयवासीलाई समस्या भएको छ । मुख्य बजार क्षेत्रमा रहेको उक्त उद्योगले उखु क्रसिङ सुरु गरेपछि उडेको खरानीसहितको धुलोका कारण सुनवल बजार क्षेत्रका बासिन्दा प्रभावित भएका हुन् ।
खेतबारीमा रोपेको बालीनालीमा पनि धुलोले असर गरेको छ । खरानीसहितको धुलोका कारण स्वास्थ्यमा पनि असर गर्न थालेको र वातावरणमा नकारात्मक प्रभाव परेकाले उद्योगलाई प्रदूषण नियन्त्रण गर्न ध्यान आकर्षण गराइएको सुनवल नगरपालिकाका नगरप्रमुख विमला अर्यालले बताए ।
“उद्योगको ध्यानाकर्षण गराए पनि कार्यान्वयन नभएकाले यस विषयमा उद्योग व्यवस्थापन पक्षसँग छलफल गर्ने तयारी गरेका छौँ”, उनले भने, “सुनवलवासीलाई उद्योगले समस्यामा पारेकाले प्रदूषण नहुने गरी सञ्चालन गर्नुपर्ने हाम्रो माग छ ।” उद्योगको धुलोका कारण हिँडडुल गर्न र कपडा धोएर सुकाउन नपाएको स्थानीयको गुनासो छ ।
उद्योगका प्रशासन प्रमुख कुश सुवेदीले धुलो नियन्त्रणका लागि आवश्यक उपकरण खरिद प्रक्रिया अगाडि बढेको बताए। “केही दिनमै समस्या समाधान हुन्छ”, उनले भने । उद्योगले केही दिन अगाडिदेखि उखु पेल्न सुरु गरेको छ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा रहेका तीन ठूला चिनी उद्योगमध्ये बाँकी दुईले भने धुलो नियन्त्रणका लागि उपकरण जडान गरेका छन् । |
धनुषामा सङ्गीतमय गीता ज्ञान महायज्ञ सुरु धनुषा । विश्व कल्याणको उद्देश्यका साथ धनुषाको लक्ष्मीनियाँ बजारमा सङ्गीतमय गीता ज्ञान महायज्ञ सुरू भएको छ । धनुषाको कुम्हरौडा पोखरीबाट जल भरेर सयौँको सङ्ख्यामा श्रद्धालुले कलशयात्रासमेत गरेका छन् ।
महायज्ञका सहयोगी राम्फल यादवका अनुसार यज्ञलाई गीत सङ्गीतसहित भक्तिमय बनाउनका लागि भारतको उत्तर प्रदेशस्थित ऐतिहासिक पवित्र नगरी बनारसबाट साधुसन्तलाई आमन्त्रण गरिएको छ । स्थानीयले चन्दा सङ्कलन गरी महायज्ञको आयोजना गरेका हुन् । महायज्ञमा रु छ लाख खर्च हुने अनुमान गरिएको छ ।
सात दिनसम्म चल्ने श्रीमद भगवद् गीता महापुराण कथा मुख्य आकर्षणको रुपमा रहनेछ । बिहान र बेलुका भजन किर्तन गरी सो महायज्ञ गरिने स्थानीय विनोद ठाकुरले बताए । |
शीतलहरका कारण सिरहाका विद्यालय बन्द सिरहा । केही दिनयता बढ्दो शीतलहर तथा चिसोलाई मध्यनजर गरी सिरहा नगरपालिकाले आजदेखि तीन दिन नगर क्षेत्रका विद्यालयमा बिदा दिएको छ ।
बाक्लो हुस्सु र शीतलहरका कारण जनजीवन प्रभावित हुन थालेपछि चिसो छल्न वर्षे बिदामा कटौती हुने गरी नगरपालिकाले बुधबारदेखि शुक्रबारसम्म नगर क्षेत्रका सामुदायिक, संस्थागत, धार्मिक विद्यालयमा बिदा दिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवले जानकारी दिए ।
सिरहाको नवराजपुर गाँउपालिकाले अत्यधिक चिसो बढ्न गएको हुनाले विद्यालयमा अध्ययनरत विद्यार्थीको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै आजदेखि अर्को आदेश नहुञ्जेलसम्मका लागि गाउँपालिकाभित्रका सामुदायिक विद्यालय बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत राजकिशोर साहले जानकारी दिए।
चिसोका कारण विद्यालयमा अध्ययन, अध्यापन गर्न कठिनाइ भइरहेकाले विद्यालयमा बिदा दिने निर्णय भएको उनले बताए । बिहानैदेखि लाग्ने बाक्लो हुस्सु र तुसारो परेर अत्यधिक चिसो बढ्न थालेपछि जिल्लाको जनजीवन कष्टकर बनेको छ । चिसो बढेपछि सर्वसाधारण बजार, चोक चौराहामा कम देखिएका छन् । चिसोका कारण रुघाखोकी, ज्वरो, झाडापखालालगायतका स्वास्थ्य समस्या बढ्दै गएको छ ।
यसैबीच चिसो बढ्दै गएपछि सुरक्षाकर्मीले र स्थानीयतहले जिल्लाका विभिन्न स्थानमा आगो बाल्न दाउरा वितरण गरेको छ । |
सुदूरपश्चिममा कांग्रेस संसदीय दलको नेता छनोट गर्न सकस कैलाली । आकांक्षी बढी भएपछि सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलको नेता छनोट गर्न सकस देखिएको छ ।
संसदीय दलको नेताका लागि प्रदेशसभा सदस्य बहादुरसिंह थापा, कमलबहादुर शाह, दिवानसिंह विष्ट, शिवराज भट्ट, प्रकाशबहादुर देउवा, मानबहादुर रावल र मेघराज खड्का आकांक्षी छन् । कांग्रेस प्रदेश कार्यसमितिका पदाधिकारी र प्रदेशसभाका सदस्यको उपस्थितिमा आज धनगढीमा बसेको अनौपचारिक बैठकमा संसदीय दलको नेता छनोटका लागि छलफल भएको थियो ।
कांग्रेस प्रदेश कार्यसमितिका महामन्त्री नरनारायण शाह ‘मनु’ले बैठकमा संसदीय दलको नेताका आकांक्षीलाई आपसमा सहमति गरेर दलको नेताको नाम टुङ्ग्याउन आग्रह गरिएको जानकारी दिए । उनले भने, “आकांक्षीलाई आजै सहमति गर्नुस् भनेका छौँ, सहमति भएन भने भोलि निर्वाचन प्रक्रियामा जान्छौँ भनेका छौँ ।”
सुदूरपश्चिम प्रदेशसभामा अन्य राजनीतिक दलले आफ्नो पार्टीको संसदीय दलको नेता छनोट गरिसकेका छन् । ठूलो दल कांग्रेस भने आजसम्म दलको नेता छनोट गर्ने विषयमा अलमलमै छ ।
प्रदेशसभामा नेकपा ९एमाले०ले राजेन्द्रसिंह रावल, नेकपा (माओवादी केन्द्र)ले खगराज भट्ट, नागरिक उन्मुक्ति पार्टीले रामेश्वर चौधरी र नेकपा (एकीकृत समाजवादी)ले दीर्घबहादुर सोडारीलाई पार्टीको संसदीय दलको नेता छनोट गरिसकेको छ ।
त्रिपन्न सदस्यीय प्रदेशसभामा कांग्रेसका १९, नेकपा (माओवादी केन्द्र) का ११, नेकपा (एमाले) का १०, नागरिक उन्मुक्ति पार्टीका सात, नेकपा (एकीकृत समाजवादी)का चार तथा राप्रपा र स्वतन्त्रका एक÷एक जनाको प्रतिनिधित्व छ । प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन सुरु भइसकेको छ । |
कास्की कारागारमा समस्यै समस्या गण्डकी । केही दिनअघि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल कास्की कारागारको निरीक्षणमा पुग्दा निमित्त कारागार प्रशासक महेन्द्रबहादुर कुँवरले कारागारले झेलिरहेका समस्याको फेहरिस्त सुनाए ।
क्षमताभन्दा बढी कैदीबन्दी त कारागारको आम समस्या नै भइहाल्यो । त्योबाहेक जस्ताको छानोमुनिबाट प्रशासन धान्नुपरेकोदेखि खानेपानी अभावसम्मको अवस्थालाई कुँवरले मुख्यमन्त्री पोखरेलसमक्ष राखे । विसं २०२२ मा स्थापित उक्त कारागारमा चार सय २० जनाको क्षमता रहेकामा सोमबारसम्मको आँकडामा सात सय ९७ कैदीबन्दी छन् । जुन झण्डै दोब्बरले बढी हो । कैदीबन्दीको सङ्ख्याअनुसार भौतिक पूर्वाधार र स्रोतसाधन नहुँदा कारागारमा व्यवस्थापकीय चुनौती थपिँदो छ ।
कारागारको प्रशासनिक भवन छैन । जस्ताका छानामुनि स–साना कोठामा विषयगत शाखा र तिनमा कार्यरत कर्मचारी छरिएर रहनुपर्ने स्थिति छ । कारागार जस्तो संवेदनशील क्षेत्रको सुरक्षा प्रबन्धका लागि बनाइएका सुरक्षा पोष्ट जीर्ण छन् । बाहिरी पर्खालको उचाइ कम हुँदा सुरक्षा चुनौती छ ।
प्रहरी नायब निरीक्षकको नेतृत्वमा ३२ जना प्रहरी कार्यरत रहेकामा उक्त सङ्ख्या अपुग रहेको जनाइएको छ । दरबन्दी थपेर सुरक्षा जनशक्ति बढाउनुपर्ने कारागार प्रशासनको माग छ । सुरक्षा पोस्टमा तैनाथीदेखि दैनिक अदालत, अस्पताल, कैदीबन्दीको स्थानान्तरण आदि कार्यमा खट्न प्रहरी सङ्ख्या अपुग रहेको हो ।
सुरक्षाकर्मीका लागि आवास, शौचालय, खानेपानी धारालगायत अन्य भौतिक पूर्वाधारको समेत अभाव छ । सुरक्षाकर्मी कम भएकै कारण १० बजे अदालत हाजिर गराउनुपर्ने कैदीबन्दीलाई ढिलो गरी लैजानुपर्ने बाध्यता कारागार प्रशासनलाई छ ।
निमित्त कारागार प्रशासक कुँवरले कैदीबन्दीले पाउने दैनिक सीधा रकम पनि महँगीको तुलनामा कम रहेको बताए । जसका कारण गुणस्तरीय खानाबाट कैदीबन्दी वञ्चित हुनुपरेको छ । कैदीबन्दीले दैनिक सिदाबापत प्रतिव्यक्ति रु ६० र सात सय ग्राम मन्सुली चामल पाउँछन् ।
कैदीबन्दीको स्वास्थ्य उपचारका लागि पनि कम बजेट आउने गरेको कुँवरले उल्लेख गर्नुभयो । चालु आवमा रु। १६ लाख बजेट उपचारका लागि छ । कारागारमा ६८ जना दीर्घरोगी छन् । कैदीबन्दीको सङ्ख्याअनुसार चिकित्सकसहित स्वास्थ्यकर्मीको व्यवस्था हुनुपर्नेमा एक जना मात्र स्वास्थ्यकर्मीको दरबन्दी छ ।
महिला कैदीबन्दीसमेत रहेकाले कारागारमा महिला स्वास्थ्यकर्मीकोसमेत खाँचो छ । कैदीबन्दीले उत्पादन गरेका हस्तकलाका सामग्रीले पनि श्रमअनुसारको मूल्य पाउन सकेका छैनन् । कैदीबन्दीले मुढा, झोला, भाङ्ग्रालगायत सामग्री बुन्ने गरेका छन् । त्यस्ता सामग्रीको बिक्रीकक्ष पनि राखिएको छ ।
कारागारमा खानेपानी, सौर्यबत्ती, सेफ्टी ट्याङ्कीलगायत दैनिक उपभोगसँग जोडिएका सेवा र वस्तुको पनि अभाव छ । निमित्त कारागार प्रशासक कुँवरले कैदीबन्दीको मागअनुसार दैनिक सीधा रकम र चामलको परिणाम बढाउनुपर्ने बताए ।
कैदीबन्दीले उत्पादन गरेका हस्तकलाका सामग्रीको बजारीकरणका लागि व्यवस्थित पसल सञ्चालन गर्नुपर्ने आवश्यकता छ । कैदीबन्दीको न्यूनतम जीवनस्तर र मानवअधिकारको प्रत्याभूतिका लागि राज्यले सोही अनुसार पूर्वाधार र सेवासुविधाको प्रबन्ध गर्नुपर्ने कुँवरले बताए ।
“प्रशासनिक भवनका लागि चालु आवमा सङ्घ सरकारबाट रु ५० लाख आए पनि बजेट कम भएका कारण निर्माण कार्य अघि बढ्न सकेको छैन”, उनले भने, “प्रदेश सरकारले दिएको रु २० लाख बजेट कारागारको मर्मतसुधारमा मात्र खर्च गर्न मिल्छ ।”
प्रदेशका आन्तरिक मामिलामन्त्री डोबाटे विश्वकर्माले कास्कीको मात्र नभएर देशैभरका कारागार जीर्ण र स्रोतसाधनको अभावबाट गुज्रेको बताए । “पछिल्लो समय कारागारका भवन बनिरहेका छन्, स्तरवृद्धि पनि भइरहेको छ”, उनले भने, “कैदीबन्दीले न्यूनतम मानवअधिकारको उपभोग गर्न पाउने गरी कारागारको व्यवस्थापन गर्नुपर्छ, राज्यले सोहीअनुसार स्रोतसाधन थप्नुपर्छ ।”
प्रदेश राजधानीमा अवस्थित कारागारको स्थिति बुझेपछि मुख्यमन्त्री पोखरेलले पहिलेको तुलनामा कारागार सुधार हुँदै आए पनि पूर्ण नरहेको प्रतिक्रिया दिएका थिए । मुख्यमनत्री पाखेरेलले विसं २०३५ र २०३६ मा सोही कारागारमा राजनीतिक बन्दीका रुपमा केही समय बिताएका थिए । मुलुकको प्रधानमन्त्री, मन्त्री भइसकेका अधिकांश नेता जीवनको कुनै न कुनै समयमा जेल बसेको भन्दै उनले त्यहाँबाट निस्केपछि भने जेलको अवस्था बिर्सने गरेको बताए ।
पछिल्लो समय जेललाई सुधारगृहका रुपमा विकास गर्न पहल भए पनि सोचे जति प्रगति हुन नसकेको मुख्यमन्त्री पोखरेलले उल्लेख गरे । कारागार सङ्घ सरकार मातहत रहे पनि यसको स्तरवृद्धिका लागि प्रदेश र स्थानीय सरकारले पनि हातेमालो गर्नुपर्ने उनको भनाइ थियो । रासस |
नेपालगञ्ज विमानस्थलबाट हुने उडान रद्द बाँके । बाक्लो कुहिरोले भिजिबिलिटी नपुग्दा आज नेपालगञ्ज विमानस्थलबाट कुनै पनि हवाई उडान हुन सकेको छैन । बिहानैदेखि लागेको हुस्सुका कारण यहाँबाट पश्चिम नेपालका पहाडी जिल्लाहरू र काठमाडौँका लागि हुँदै आएका सबै उडान रद्द गरिएको नेपालगञ्ज विमानस्थलका प्रमुख सुरेश खनालले जानकारी दिए ।
जहाज अवतरण र उडानका लागि भिजिबिलिटी नपुग्दा यहाँबाट पहाडी जिल्लालगायत काठमाडौँका लागि कुनै हवाई उडान नभएको विमानस्थलले जनाएको छ । “अहिलेसम्म कुनै उडान भएको छैन र हुने सम्भावना पनि देखिँदैन”, प्रमुख खनालले भने ।
कर्णाली प्रदेशको जुम्ला, हुम्ला, डोल्पा र मुगु तथा सुदूरपश्चिमको बाजुरा, बझाङका लागि बिहान मात्रै उडान हुने हुँदा भिजिबिलिटी नपुग्दा सबै उडान रद्द गरिएको विमानस्थल प्रमुख खनालले बताए । आज बिहानैदेखि छ सय मिटर मात्र भिजिबिलिटी रहेकाले पहाडी जिल्लाका सबै उडान रद्द गर्नुका साथै काठमाडौँका लागि सबै उडान रद्द गरिएको उनले बताए ।
नेपालगञ्ज विमानस्थलबाट दैनिक कर्णाली सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली जिल्लामा २० र काठमाडौँका लागि १५ वटासम्म उडान हुने गरेको बताइएको छ । यहाँबाट काठमाडौँ, डोल्पा, बाजुरा, सिमिकोट, जुम्ला, मुगु, रुकुम, बझाङमा दैनिक उडान हुने गरेको छ ।
केही दिनयता सुरु भएको शीतलहर र चिसोका कारण बाँके र बर्दियाको जनजीवन अस्तव्यस्त छ । दैनिक ज्यालादारीमा काम गर्ने मजदुर र श्रमिकलाई चिसोले सबैभन्दा बढी समस्या पारेको छ । नेपालगञ्जमा चिसोका कारण बाटोमा दाउरा बालेर बसिरहेको दृश्य देख्न सकिन्छ । |
शीतलहरले सप्तरीसहित मध्यतराईको जनजीवन कष्टकर सुधा देव
सप्तरी । शीतलहरका कारण मध्यतराईका जिल्लाहरूको जनजीवन कष्टकर बनेको छ । एक हप्तायता चिसो हावा चल्ने, बाक्लो हुस्सु लाग्ने, घाम नलागेका कारण अत्याधिक चिसो बढेको हो । शीतलहरसँगै अत्यधिक चिसो बढेपछि सर्वसाधारणलाई घरबाट निस्किन समस्या भएको छ ।
स्थानीय रमेश यादवका अनुसार सार्वजनिक ठाउँ, बजार, सरकारी तथा गैरसरकारी कार्यालयमा सेवाग्राही घटेको छन् भने विद्यालय, कलेजमा विद्यार्थीको उपस्थिति न्यून छ । शीतलहरकै कारण कतिपय विद्यालय बन्द भइसकेका छन् ।
बाक्लो कुहिरो र शीतलहरका कारण सवारीसाधान पनि कम चलिरहेका छन् । चलेको सवारीसाधनमा पनि यात्रुको भिडभाड छैन् । चिसो बढेपछि मजदुरहरूले मजदुरी गर्न नसकेको राजविराज(२ की गुल्सन खातुनले बताइन् ।
विपन्न परिवारमा न्यानो लुगाको अभावमा जाडोले कठ्याग्रिएर बस्न बाध्य हुनुपरेको छ । शीतलहरबाट सबैभन्दा बढी जोखिममा विपन्न गरिब परिवार पर्ने भएकाले त्यसलाई लक्षित गरी पूर्वतयारीमा जोड दिएको सरकारले बताइरहे पनि व्यवहारमा देखिएको छैन । |
छाडा कुकुर घटाउन स्थायी बन्ध्याकरण अभियान बुटवल। तिलोत्तमा नगरपालिकाभित्र रहेका सामुदायिक छाडा कुकुरको स्थायी बन्ध्याकरण अभियान सम्पन्न गरिएको छ।
नगरपालिकाको आर्थिक सहयोगमा पक्लिहवा कृषि तथा पशु अध्ययन क्याम्पसका र युथ फर कन्जरभेसन एण्ड सस्टेनेबल एग्रीकल्चरको प्राविधिक सहयोगमा तीन दिनमा ८० वटा सामुदायिक कुकुरको स्थायी बन्ध्याकरण गरिएको हो।
नगरपालिका कार्यालय परिसरमा मंगलबार औपचारिक कार्यक्रम गरी कुकुरको स्थायी बन्ध्याकरण शल्यक्रियामा प्राविधिक सहयोग गर्ने चिकित्सकहरू डा. केशव लम्साल, डा. विरेन्द्र श्रेष्ठ, डा. गंगाप्रसाद यादवसहित सहयोगी संस्थाहरूलाई सम्मान गरिएको छ।
कार्यक्रममा नगरप्रमुख रामकृष्ण खाणले समुदायमा संचालन गरिने विकास निर्माणको कार्यहरूलाई एकीकृत योजना बनाई अघि बढाउनुपर्ने बताए। सामुदायिक छाडा कुकुरको नियन्त्रणको अभियान थालनी गरेको भन्दै यसमा छिमेकी पालिकाहरुको सहकार्य जारी रहने उनले बताए। ‘स्थानीय तहहरू मिलेर साझा मुद्दामा एकताबद्ध भई काम गर्नुपर्छ,’ उनले भने।
छाडा चौपाया, सामुदायिक कुकुर, फोहोर व्यवस्थापन, वातावरण संरक्षण जस्ता विषयमा एकीकृत योजना बनाएर अघि बढ्न जरुरी रहेको उनले बताए। बजार क्षेत्रमा कुकुरको संख्या बढ्दा नगर अब्यवस्थित हुनुको साथै विभिन्न रोग लाग्ने जाेखिम बढेपछि अभियान चलाएको खाणको भनाइ छ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले सिमित बजेटमा नमूना काम भएको बताए। कार्यक्रममा तिलोत्तमा नगरपालिकाका उपप्रमुख जगेश्वरदेवी चौधरीले नगरमा धेरै छाडा पशुको समस्या रहेको बताइन्।
समुदायबाट कुकुरको व्यवस्थापनको दबाब आइरहेको बेला बन्ध्याकरण राम्रो विकल्प भएको उनले दाबी गरिन्। नगरपालिकाका सबै वडा कार्यालयहरूको समन्वयमा बन्ध्याकरण कार्यलाई निरन्तरता दिने प्रतिबद्धता उनले जनाइन्। |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.