content
stringlengths
20
64.1k
गण्डकी प्रदेशसभा बैठककक्षमा खुट्टा छिराउनै धौधौ पर्ने टेबुल र कुर्ची गण्डकी। पुरानो भवन। साँघुरो बैठककक्ष। साजसज्जाले बाहिर चिटिक्क देखिए पनि गण्डकी प्रदेशसभामा भौतिक पूर्वाधारको कमी छ। विषयगत समितिका कार्यालय ‘प्रि–फ्याव’ भवनमा छन्। संसदीय दलका लागि कार्यालयको समस्या छ। संरचना अपुग हुँदा प्रदेशसभा सचिवालयको प्रशासनिक कामसमेत अन्य कार्यालयबाट सञ्चालन गर्नुपर्ने स्थिति छ। कर्मचारी र सुरक्षाकर्मीका लागि आवासको उचित प्रबन्ध हुनसकेको छैन। सञ्चारकर्मीका लागि मिडियाकक्ष छैन। प्रतिक्षाकक्ष, चमेनागृहजस्ता भौतिक पूर्वाधार व्यवस्थित छैनन्। आधुनिक सुविधायुक्त प्रदेशसभा भवन निर्माणका लागि बनाइएको रु डेढ अर्बको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अलपत्र परेको छ । बजेट नभएपछि भवन निर्माण अघि बढेन। सभामुख कृष्णप्रसाद धितालले प्रदेशसभा भवनमा भौतिक पूर्वाधारको अवस्था कमजोर रहेको बताए। “बैठककक्षमा खुट्टा छिराउ नै धौधौ पर्ने टेबुल, कुर्ची छन्”, उनले भने, “साउण्ड सिस्टमको पनि समस्या छ ।” भवन साँघुरो भएकाले बैठक सञ्चालनलगायतका काममा कठिनाइ उत्पन्न हुने गरेको सभामुख धितालले बताए। “सुविधासम्पन्न प्रदेशसभा भवन बनाउन यसअघि प्रस्ताव भएर डिपिआर पनि बनेको रहेछ”, उनले भने, “बजेट ठूलो भएकाले कसैले आँट गरेनन्, न केन्द्रले न प्रदेशले बजेट दियो।” सभामुख धितालले एकैपटकमा सबै संरचनाको निर्माण थाल्न नसकिए पनि खण्ड–खण्ड गरेर काम गर्ने गरी स्रोत जुटाउनुपर्ने उल्लेख गरे। उनले आफ्नो कार्यकालमा प्रदेशसभालाई भौतिक पूर्वाधार सम्पन्न बनाउन पहल लिने बताए। “तत्काल सुधार गर्न सकिने कामका लागि मुख्यमन्त्री र मन्त्रीज्यूहरूसँग पनि कुराकानी अगाडि बढाएको छु, प्रदेशसभामा एउटा स्वास्थ्य एकाइ राख्नका लागि पनि पहल भइरहेको छ”, उनले भने, “सुरक्षा पर्खाल, पुस्तकालय व्यवस्थापन आदिको काम पनि अगाडि बढ्दैछ।” प्रदेशसभा सचिवालयका कानुन अधिकृत कुमार रिजालले प्रदेशसभाको पहिलो कार्यकाल बित्दासमेत आफ्नै भवन बन्न नसकेको बताए। ठाउँ अभावले गर्दा सचिवालयलाई प्रदेशसभाभन्दा केही तल रहेको प्रदेश प्रशिक्षण प्रतिष्ठानको भवनमा राखिएको उनको भनाइ छ। “दुईतिर कार्यालय हुँदा कर्मचारीलाई बढी आहोर–दोहोर गरिरहनुपर्ने बाध्यता छ, त्यसले कार्यबोझ थपिएको छ, कार्यसम्पादनमा असहजता छ”, उनले भने, “आशा गरौँ, प्रदेशसभाको यो कार्यकालमा आफ्नै आधुनिक सुविधायुक्त भवन बन्नेछ।” प्रदेशसभा सदस्य कुसुम बुढामगरले पहिलोपटक बैठककक्ष छिर्दा सोचेभन्दा भिन्न अनुभव भएको सुनाइन्। “ससंद् भवन भनेपछि अलि भव्य र व्यवस्थित छ होला भन्ने लागेको थियो, तर एकदमै साँघुरो रहेछ, मन्त्रीज्यूहरू बस्ने ठाउँ पनि उस्तै”, उनले भनिन्, “भौतिक पूर्वाधारका दृष्टिले प्रदेशसभा पछाडि नै छ।” सञ्चारकर्मी र बैठक अवलोकनकर्ताहरूको बसाइका लागि पनि सानो क्षेत्र तोकिएको छ। पत्रकारलाई बैठकको तस्वीर र दृश्य लिन पनि कठिन छ। आल्मुनियमले बारमाथिबाट जनेतेन तस्वीर खिच्नुपर्ने स्थिति छ। सचिवालयका कर्मचारी र मर्यादापालकका लागि पनि कार्यस्थल साँघुरो छ। भौतिक संरचनामात्रै नभएर प्रदेशसभामा अन्य स्रोत साधनको पनि कमी देखिएको छ। दक्ष र विषयगत कर्मचारीको अभाव रहेको सचिवालयले जनाएको छ। प्रदेशसभाको आफ्नै सेवा समूहको व्यवस्था नभएकाले कर्मचारीको सरुवा–बढुवा हुँदा कार्यसञ्चालनमा समस्या निम्तने गरेको छ। सचिवालयको कार्यबोझ बढी भए पनि कर्मचारीलाई प्रोत्साहन दिन नसकिएको जनाइएको छ। कर्मचारीको समयसापेक्ष सीप र क्षमता विकास गर्नुपर्ने खाँचो छ। प्रदेशसभाको भौतिक पूर्वाधार निर्माणसहित दैनिक कार्यसञ्चालनका लागि सरकारले पर्याप्त बजेट दिनसकेको छैन। नदीपुरस्थित नगर प्रशिक्षण केन्द्रको भवनबाट विगत पाँच वर्षदेखि प्रदेशसभा सञ्चालन हुँदै आएको छ। भवनसहित ६४ रोपनी जग्गाको भोगाधिकार प्रदेशसभाले पाइसकेको छ। पाँच वर्षअघि आजकै दिन प्रदेशसभाको पहिलो बैठक बसेको थियो। आज प्रदेसभाको पाँचौँ वार्षिकोत्सव मनाइँदैछ।
बाँदरले उपद्रो मच्चाएपछि बस्ती नै खाली भोजपुर। बाँदरको उपद्रो बढेपछि भोजपुरको तल्लो भेगका बस्ती खाली हुन थालेका छन्। बाँदरले बारीमा लगाएको अन्नबाली नष्ट पारेपछि स्थानीयवासी बस्ती छाड्न बाध्य भएका हुन्। बस्ती खाली भएपछि माथिल्लो भेगसम्म बाँदर आउन थालेका छन् । जिल्लाका अधिकांश क्षेत्रमा बाँदरको समस्या रहेको छ। रामप्रसादराई गाउँपालिका-४ दलगाउँका स्थानीय बाँदरको आतङ्क बढेपछि बस्ती छाडेर हिँडेका छन्। बाँदरले बस्तीमा पसेर अन्नबाली खान थालेपछि कतिपय स्थानीय विस्थापितसमेत भएका हुन्। बाँदरले बस्तीमा पसेर दुःख दिन थालेपछि यहाँ दशभन्दा बढी घर स्थानीयले गाउँ नै छाडेका स्थानीयवासी टेकबहादुर तामाङले बताए। अन्नबाली जोगाउन समस्या भएपछि बाध्य भएर बस्ती छाड्नुपर्ने अवस्था आएको उनको भनाइ छ। “बाँदरका कारण बस्ती नै खाली भएको छ”, उनले भने, “वर्षभरि खानका लागि लगाएको अन्नबाली छिनभरमा नष्ट पार्छ। बारीमा कटेरा बनाएर हेरचाह गर्दा पनि सम्भव हुँदैन।” दश–बाह्र वर्षसम्म कमै मात्रामा बाँदर लाग्ने गरेको भए पनि पछिल्लो समय तल्लो भेगका मानिस अन्यत्र गएपछि गाउँभरि नै बाँदरको आतङ्क बढेको टेम्केमैयुङ–६ कोटका स्थानीय इन्द्रबहादुर राईले बताए। बाँदरका कारण गाउँबस्तीमा बस्न नसक्ने अवस्था आएको उनको भनाइ छ। “बाँदरले हामीलाई अति नै समस्यामा पारेको छ”, उनले भने, “बारीमा लगाएको हिउँदेबाली सम्पूर्ण नष्ट पारेको अवस्था छ। बाँदरले लगाएको बाली नष्ट पारेपछि यस वर्ष खेतमा गहुँ छरिन, अन्नबाली जोगाउन अति नै समस्या छ।” बाँदर मकैको थाङ्ग्रा धानको कुनिउ, बगैँचाका फलफूलमा आउन थालेपछि स्थानीय समस्यामा परेका हुन्। स्थानीयले स-साना टहरा बनाएर अन्नबालीको हेरचाह गर्ने गरेका छन्। बाँदर हेरचाह गर्नका लागि परिवारका दुईदेखि तीन जनाको काम नै त्यही हुने गरेको स्थानीयको भनाइ छ। बाँदरलाई यन्त्रउपकरण पड्काएर तर्साउने गरे पनि पछिल्लो समयमा टेर्न छाडेको भोजपुर नगरपालिका-५ का स्थानीय धनबहादुर थापाले जानकारी दिए। “बाँदर धपाउने यन्त्र पड्काएर थर्साउँदा पहिला-पहिला त भाग्थे”, उनले भने, “अहिले त धपाउँदा टेर्दैनन्। भगाउन पनि गाह्रो छ। दशदेखि पन्ध्र मिनेटमात्र बालीमा पस्न पाए भने सखाप नै पार्छन्। बाँदरले हैरान बनाएको छ।” बाँदर नियन्त्रणका लागि सरकारले उचित विकल्पको खोजी गर्नुपर्ने रामप्रसादराई गाउँपालिका–४ दलगाउँका स्थानीय तीर्थबहादुर प्रधानले बताए। बाँदरको आतङ्क यसरी नै बढ्दै जाने हो भने अबको आठ-दश वर्षमा धेरै बस्ती खाली हुने प्रधानको भनाइ छ। “बाँदर नियन्त्रणमा सरकारले उचित विकल्प ल्याउन आवश्यक छ।” बाँदरले अन्नबाली उत्पादनमा बाधा गरेपछि धेरै मानिसले आफ्नो खेतबारी बाँझो छाडेका छन्। “बाँदरको उपद्रो बढ्दो छ”, उनले भने, “एक घण्टामात्र बालीमा पस्न पायो भने वर्षभरि खाने अन्न छिनभरमै खाइदिन्छ। बाँदर नियन्त्रण गर्न नसकेपछि खेतबारी बाँझो छाडेर किनेर खानुपर्ने अवस्था छ। गाउँबस्ती नै आतङ्कित बनेको छ।” बाँदर आतङ्कका कारण धेरै स्थानीय गाउँ छाड्न बाध्य रहेको टेम्केमैयुङ गाउँपालिका-६ कोटका वडाध्यक्ष सूर्यप्रसाद नेपालले बताए। यहाँका २० भन्दा बढी घर परिवार बाँदरका कारण विस्थापित भएको वडाध्यक्ष नेपालको भनाइ छ। “मेरो वडामा बाँदरको अत्यन्तै धेरै समस्या छ”, वडाध्यक्ष नेपालले भने, “यहाँको मुख्य समस्या नै बाँदर बनेको छ। नियन्त्रण गर्न धेरै उपाय लगाइयो। दिनानुदिन बाँदरको सङ्ख्या बढ्दो छ। बाँदरले धेरै दुःख दिएपछि स्थानीयवासीले बस्ती नै छाडेको अवस्था छ।” बाँदरको व्यवस्थापनका लागि राज्यले उचित खालको कार्यक्रम ल्याउनुपर्ने वडाध्यक्ष नेपालको भनाइ छ। स्थानीयस्तरबाट मात्र गरिएको कोसिसले बाँदरको व्यवस्थापन गर्न नसकिने उनले बताए। “धेरै किसानको मुख्य समस्या नै बाँदर बनेको अवस्था छ”, उनले भने, “स्थानीयस्तरबाट नियन्त्रण सम्भव छैन। दैनिकजसो स्थानीयको गुनासो आउँछ। बाँदरले बस्ती उजाड बनाएको अवस्था छ। उर्वरभूमि बाँझो बसेका छन्। राज्यले उचित विकल्पको खोजी गर्न आवश्यक छ।” बाँदरको कारण जिल्लाका अधिकांश भू-भागका स्थानीयले समस्या भोग्दै आएका छन्। धेरै समस्या हुने ठाउँमा वैकल्पिक बाली लगाउँदासमेत दुःख दिने स्थानीयको भनाइ छ। बाँदरले बास्तिम, दलगाउँ, मानेभञ्याङ, कोट, गोगने, लेखर्क, बोखिम, धोद्लेखानीलगायत ठाउँमा बढी मात्रामा दुःख दिने गरेको छ। रासस
पाँच वर्षे कार्यकालमा ५३ विधेयक प्रमाणीकरण सुर्खेत। २१७ पटक वैठक बसेको कर्णाली प्रदेशसभामा पाँच वर्षे अवधिमा ५३ वटा विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण भएका छन्। त्यस्तै ६ वटा विद्येयक विषयगत समितिमा छलफलका लागि पठाएको छ। ३ वटा विद्येयक प्रदेशसभामा दर्ता भई टेबुल हुन बाँकी र दुइवटा प्रक्रियामा रहेका छन्। कर्णाली प्रदेशसभाले जनसरोकारसँग सम्बन्धी निर्मित १३ वटा विधेयक र कर्णाली प्रदेश सरकार सञ्चालनसम्बन्धी ४० वटा विधेयक बनाएको छ। ८३ वटा विधेयक दर्ता भएका भएकोमा अध्यादेश ८ वटा, फिर्ता विधेयक ८ वटा र निष्क्रिय विधेयक ३ वटा रहेको छ। अध्यादेश, फिर्ता विधेयक र निष्क्रिय विधेयक बाहेक खुद विधेयक ६४ वटा रहेको छ। ४० जना माननीय सदस्यहरू प्रतिनिधित्व गर्ने गरेका छन्। जसमा २४ प्रत्यक्ष चुनावबाट र १६ जना समानुपातिक प्रतिनिधित्व छ। प्रदेशसभाको पहिलो बैठक २०७४ माघ २१ गते ज्येष्ठ सदस्य हिमबहादुर शाहीको अध्यक्षतामा बसी प्रदेश सभाले २०७४ माघ २८ गते सभामुखमा राजबहादुर शाही र २०७४ फागुन ५ गते उपसभामुखमा पुष्पा घर्ती (विष्ट) लाई निर्वाचित गरेको थियो। पहिलोदेखि दशौं अधिवेशनसम्म पुग्दा ५ वर्षको अवधिमा २ सय ८४ घण्टा ५२ मिनेट ५९ सेकेण्ड सभा चलेको प्रदेश सभा अन्तिम बैठक २०७९ श्रावण १८ गते बसेको थियो। ५ वटा दलहरूले प्रतिनिधित्व गर्छन्। २०७४ माघ २१ गते पहिलो प्रदेश सभा बसेको दिनलाई प्रदेश सभा स्थापना दिवसका रुपमा बनाउँदै आएको छ। यस अवसरमा पूर्व माननीय पदाधिकारी र सदस्यहरुलाई सम्मान कार्यक्रम समेत गरिएको प्रदेश सभा सचिवालयका सचिव जीवनराज बुढाथोकीले बताए। कर्णाली प्रदेश प्रमुख तिलक परियार, मुख्यमन्त्री राजकुमार शर्मा, सभामुख नन्दा गुरुङ, उपसभामुख यशोदा न्यौपाने, प्रदेशका मन्त्रीहरु, माननीयहरू, पूर्व माननीयहरू, सचिवहरू तथा सुरक्षा निकायका प्रदेश प्रमुखहरू सहभागी रहेका थिए।
बाह्रै महिना मेलम्चीको पानी काठमाडौँ लैजान्छौँ : मन्त्री खाँन सिन्धुपाल्चोक । खानेपानीमन्त्री अब्दुल खाँनले बाह्रै महिना मेलम्चीको पानी काठमाडौँवासीले पिउन पाउने गरी काम अगाडि बढाउने बताएका छन् । आज सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल निरीक्षणका लागि पुगेका उनले आयोजना नियमित सञ्चालनका लागि लाग्ने खर्च र प्राविधिक कुराबारे आवश्यक छलफल गरी फास्टट्रयाकमा काम गरिने प्रतिबद्धता व्यक्त गरे । मन्त्री खाँनले नीतिगत समस्यालाई हल गर्दै कर्मचारीको समस्यालाई पनि सम्बोधन गरिने बताए । सोही क्रममा उनले स्थनीयवासीले उठाएका मागलाई समेत उच्च प्राथमिकतामा राखेर काम गरिने विश्वास दिलाए । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले आयोजनामा हालसम्म भएको लगानी, विसं २०७८ असारमा गएको बाढीले पु¥याएको क्षति र नियमित आयोजनामा सञ्चालनका लागि गर्नुपर्ने कामका विषयमा समेत विस्तृत जानकारी दिएका थिए । उनले खानेपानी समिति नहुँदा तलब, मर्मत र महत्वपूर्ण निर्णय गर्न समस्या भएको बताए । बाढीले मेलम्ची खानेपानी आयोजनामा करिब रु दुई अर्बको क्षति पुगेको पूर्वानुमान गरिएको छ । आयोजनाको मुहानस्थलमा निर्माण भएकोे पक्की संरचना बाँध, गेट, जेनेरेटर घर, कन्ट्रोलहाउस पुरिनुका साथै निर्माण सामग्री र निर्माण उपकरण र कन्ट्रयाक्टर लेबर क्याम्पसमेत बगाएको थियो । आयोजना निरीक्षणका क्रममा मन्त्री खानसहित खानेपानी सचिव मणिराम गेलाल, खानेपानी विकास समितिका कार्यकारी निर्देशक श्रेष्ठ विभिन्न क्षेत्रको विज्ञ टोलीलगायत मुहानस्थल पुगेका थिए ।
स्वदेशी उत्पादनको प्रवर्द्धनबाटै आर्थिक समृद्धि सम्भव : मुख्यमन्त्री अधिकारी पर्वत । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले स्वदेशी उत्पादनको प्रवर्द्धन र बजारीकरणबाट मात्र आर्थिक समृद्धि हासिल गर्न सकिने बताएका छन् । पर्वतको सदरमुकाम कुश्माबजारमा सञ्चालित साताँै पर्वत महोत्सवको समापनका अवसरमा बोल्दै मुख्यमन्त्री अधिकारीले आयातित वस्तुको बिक्री वितरणले मुलुक समृद्ध हुन नसक्ने बताउँदै गण्डकी प्रदेश सरकारले स्थानीय उत्पादनको बजारीकरणलाई प्राथमिकता दिने बताएका छन् । उनले गण्डकी प्रदेशका ११ वटै जिल्लामा कृषि, लघुउद्यम तथा वनजन्य उद्योगबाट उत्पादित वस्तुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पु¥याउनका लागि प्रदेशले विशेष योजना बनाउने बताए । अहिले आर्थिक सङ्कटले चौतर्फी क्षेत्र समस्यामा परेको बताउँदै उनले फजुल खर्च रोकेर मितव्ययीता अपनाउन निजी क्षेत्रलाई सचेत गराए । आफूले मन्त्रालयको सङ्ख्या घटाएर खर्च कम गर्न थालेको बताउँदै उद्योग, पर्यटन तथा कृषि क्षेत्रको विकास र विस्तारबाट समृद्धि हासिल गर्न सकिने बताए । मेला–महोत्सवमा विदेशी वस्तुको व्यापारलाई भन्दा स्थानीय उद्यमी तथा कृषकले उत्पादन गरेका वस्तुको व्यापारलाई जोड दिनसमेत उनले आग्रह गरे । महोत्सव माघ ११ देखि सुरु भएको थियो । महोत्सवमा आयोजित सबै प्रतियोगिताका विजेतालाई मुख्यमन्त्री अधिकारीबाट पुरस्कार वितरण गरिएको थियो । महोत्सवमा झण्डै रू पाँच करोडको कारोबार भएको आयोजकको अनुमान छ ।
स्वास्थ्य क्षेत्रमा सुधारको अठोट लिएको छु : स्वास्थ्यमन्त्री चितवन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले स्वास्थ्य क्षेत्रमा धेरै ठूलो सुधार गर्ने अठोट लिएर आएको बताएका छन् । विश्व क्यान्सर दिवसको अवसरमा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले आज यहाँ आयोजना गरेको कार्यक्रममा बोल्दै गिरीले समस्या विकराल भए पनि समाधान गर्ने अठोट व्यक्त गरेका हुन् । उनले स्वास्थ्य क्षेत्रमा कूल बजेटको पाँच दशमलव ७४ प्रतिशत मात्रै बिनियोजन भएको भन्दै समस्या समाधानका लागि यो बजेट अत्यन्त न्यून रहेको बताए । उनले भने, “नेपालको स्वास्थ्य क्षेत्रमा धेरै ठूलो सुधार गर्ने अठोटका साथ मन्त्रालयमा आएको छु ।” उनले बिनियोजित बजेटको सीमाभित्र बसेर स्वास्थ्य क्षेत्रमा देखिएको ठूलो समस्या समाधान गर्नुपर्ने स्थिति भएको भन्दै थप बजेट आवश्यक भएको बताए । अहिले पनि गुणस्तरीय स्वास्थ्य सेवा आम नेपालीसम्म पु¥याउने विषय चुनौतीको विषय भएको भन्दै मन्त्री गिरीले भने, “पैसाको अभावमा अस्पताल जान नपाएका जनतासम्म पुगेर गुणस्तरीय स्वास्थ्य सेवा दिने विषय पहिलो प्राथमिकता हो ।” अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमले अस्पतालले पछिल्लो समय गरेका उपलब्धी र भएका समस्याका बारे मन्त्री गिरीलाई जानकारी गराए । अस्पतालका उपनिर्देशक डा कृष्णसागर शर्माले विदेशी दाताको सहयोगमा ठूलो मात्रामा औषधि र अन्य उपकरण बिरामीलाई निःशुल्क उपलब्ध गराउँदै आएको सो अवसरमा जानकारी गराए ।
ट्रकको ठक्करबाट माझिको मृत्यु भएपछि शुक्रबारबाट कर्णाली राजमार्ग अवरुद्ध हेमन्त केसी सुर्खेत । हुम्लाबाट नेपालगञ्ज जाँदै गरेको भे १ ख ३५१८ नम्बरको ट्रकले दैलेखेको सिम भन्ने ठाउँमा ठक्कर दिँदा दैलेख आठबिस नगरपालिका–४ का ५५ वर्षीय तिलक माझिको मृत्यु भएपछि स्थानीयले कर्णाली राजमार्ग बन्द गरेका छन् । शुक्रबार ६ः१५ बजेबाट बन्द भएको कर्णाली राजमार्ग अहिले सम्म नखुल्दा हजारौँ यात्रु अलपत्र परेका छन् । राजमार्ग अवरुद्ध हुँदा आफूहरू गनतव्यमा पुग्न नसकेको खानेपानी सिँचाइ तथा उर्जा विकास कार्यालय कालीकोटका प्रमुख मंगल शाहीले बताए । त्यस्तै, कालीकोटको महावै गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले शुक्रबार साँझ ७ बजेबाट आफू पनि टुनिबगरमा रहेको र सडक खुलाउनेतर्फ प्रहरीले खासै चासो नदिएको गुनासो गरे  । प्रहरीले कालीकोट जुम्ला, मुगुतर्फ आउने गाडीलाई दैलेखेको पाल्तडा, टुनिवगरमा रोकी राखेको छ । आठबिस नगरपालिका प्रमुख तर्क बडूवालले ट्रक साहुलाई बोलाएर मृतक परिवारलाई राहत उपलब्ध गराउने विषयमा छलफल भइरहेका छ । छलफलपछि सडक खुल्ने प्रमुख बडूवालले बताए । दैलेख प्रहरी प्रमुख डिएसपी भुवनेश्वरप्रसाद यादवले स्थानीयको आक्रोश बढिरहेकाले सुरक्षा अवस्थामा समेत चुनौती रहेको भन्दै स्थानीय जनप्रतिनिधिसँग छलफलपछि समस्याको समाधान गराउने प्रयास जारी रहेको भए पनि सफल हुन नसकेको जानकारी दिए ।
नुवाकोटको विकास बजेट खर्च निराशाजनक त्रिशूली। चालु आर्थिक वर्षको छ महिनाको अवधिमा नुवाकोटमा विकास (पुँजीगत) बजेटको खर्च निराशाजनक छ। प्रादेशिक १३, सङ्घीय ३० र १२ स्थानीय तहको खर्च प्रगति लक्ष्यभन्दा कम पाइएको छ। सरकारी कार्यालयको खर्च तथ्याङ्क राख्ने कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख भीमप्रकाश देवकोटका अनुसार सङ्घीय कार्यालयको खर्च करिब २६ प्रतिशत पुगे पनि प्रादेशिक कार्यालयको खर्च १३ प्रतिशत मात्रै रहेको छ। चालु आर्थिक वर्षको आधा समय पूरा हुँदा सङ्घ र प्रदेश अन्तर्गतका कार्यालयले खर्च सामर्थ्यको लक्ष्य निर्धारण ४० प्रतिशतभन्दा बढी राखेका थिए। बागमती प्रदेशअन्तर्गत जिल्लाका १३ कार्यालयमार्फत पुँजीगततर्फ रु दुई अर्ब ८७ करोड प्राप्त भएको थियो। ती कार्यालयले पुस मसान्तसम्म १३ प्रतिशत अर्थात रु ३७ करोड ८० लाख मात्र खर्च गरेका छन्। सङ्घ मातहतका ३० कार्यालयको चालु आवमा पुँजीगत बजेट रु तीन अर्ब १७ करोड प्राप्त भएकामा पुस मसान्तसम्म २५.५५ प्रतिशत अर्थात रु ८१ करोड १५ लाख खर्च भएको प्रमुख देवकोटाले जानकारी दिए। जिल्लाका स्थानीय तहले बजेट विवरण सुत्रमा उल्लेख गरे पनि हिउँदे सभामार्फत विभाजन गर्ने र योजनागत रुपमा छुट्ट्याउन अधिकांशको अझै बाँकी छ। सोही कारण खर्च प्रतिशत नदेखिए पनि भुक्तानीका लागि आएको सिफारिसको आधारमा खर्च सामथ्र्य १० प्रतिशत भन्दाकम देखिएको छ। “स्थानीय तह केहीले मात्र पुस मसान्तसम्म योजनाको सम्झौता र ठेक्का लगाएका छन् भने धेरैको प्रक्रियामा जान बाँकी भएकाले स्थानीय सरकारको खर्च सामथ्र्य सङ्घ र प्रदेशको तुलनामा झन् निराशाजनक छ।” उनले भने, “आर्थिक वर्षको आधा समयसम्म भएका कमिकमजोरीलाई नसच्याउने हो भने काम गर्ने इच्छाशक्तिको अभाव र सुशासनप्रतिको इमान्दारितामा प्रश्न उठ्छ।” पुँजीगत बजेट खर्च सन्तोषजनक नहुनुमा नयाँ आर्थिक वर्ष सुरु भएदेखि साउन र भदौमा निरन्तर वर्षा, त्यसलगत्तै चाडपर्व र निर्वाचनको गतिविधिलगायत कारण देखाइएको छ। स्थानीय तहतर्फ भने चालु आर्थिक वर्षदेखि आएका नयाँ नेतृत्वसँग अनुभवको कमी, अघिल्लो वर्षको ऋण, काम सिक्दै गर्दाको समय, रावस्व सङ्कलनमा परेको प्रभावको कारण लक्ष्य अनुसारको पुँजीगत खर्च नभएकाले क्रमशः सुधार हुने अपेक्षा गरिएको छ। पुँजीगत खर्च निराश देखिए पनि कार्यालय प्रयोजनको लागि आउने चालु खर्च भने आवको आधा अवधिमा प्रदेश मातहतका कार्यालयको ३४ प्रतिशत र सङ्घअन्तर्गतका कार्यालयको ४७ प्रतिशत भइसकेको छ।
वीरगञ्ज नाकाबाट एक वर्षमा ६५९ पर्यटक भित्रिए काठमाडौं । पर्साको वीरगञ्ज भन्सार नाकाबाट पछिल्लो एक वर्षको अवधिमा ६५९ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण कम भएसँगै नेपालबाट बाहिरीने भन्दा भित्रिने पर्यटकको सङ्ख्या बढ्दै गएको हो । पर्यटक प्रहरी कार्यालय वीरगञ्जका अनुसार सन् २०२२ को जनवरीदेखि सन् २०२३ को जनवरीसम्म यहाँबाट ६५९ विदेशी पर्यटक नेपाल भित्रिएका छन् भने पाँच सय पाँच जना विदेशी पर्यटक बाहिरिएका छन् । हावापानी तथा घुमफिर गर्ने मौसमका दृष्टिकोण उपयुक्त मानिएको असोज, कात्तिक, मङ्सिर र पुसमा अन्य महिनाको तुलनामा पर्यटकको सङ्ख्या बढी रहेको पर्यटन प्रहरी कार्यालय वीरगञ्जका प्रमुख प्रहरी नायब निरीक्षक अनिल कुमार महतोले जानकारी दिए । कार्यालयको तथ्याङक अनुसार पछिल्लो पुसमा मात्रै वीरगञ्ज नाकाबाट एक सय दुईजना विदेशी पर्यटक नेपाल भित्रिएका छन् भने एक सय २४ जना बाहिरिएका छन् । भारतको विभिन्न सहर घुमेर वीरगञ्ज नाकाबाट नेपाल आउनेमा अमेरिका, फ्रान्स, थाईल्याण्ड, जर्मनी, युएसए र क्यानडाका पर्यटक बढी हुने महतोले बताए । यहाँ आउने पर्यटकलाई होटल, यातायातलगायतमा असुबिधा वा ठगि हुन नदिन सचेतना जगाउनुको साथै दुर्घटनामा परी घाइते भएकालाई उपचार गराई परिवारजनको जिम्मा लगाउने काम पर्यटक प्रहरी कार्यालय वीरगञ्जले गर्दै आएको निरीक्षक महतोको भनाइ छ । भारतको रक्सौलहुँदै वीरगञ्ज नाकाबाट नेपाल भित्रिने विदेशी पर्यटलाई अध्यागमन कार्यालय वीरगञ्जले अनअराईबल भिसा दिने गरेको छ ।
बागमती प्रदेशले छ महिनामा गर्‍यो ११ अर्ब १९ करोड खर्च हेटौंडा । बागमती प्रदेश सरकारको कूल बजेटमध्ये चालु आर्थिक वर्षको छ महिनामा रु ११ अर्ब १९ करोड ६७ लाख ८० हजार खर्च भएको छ । बागमती प्रदेश सरकार प्रदेश लेखा नियन्त्रकको कार्यालय हेटौँडाका अनुसार चालु आवमा रु ७० अर्ब ९३ करोड ९२ लाख ९१ हजार बजेट ल्याएको बागमती प्रदेश सरकारले चालु आवको छ महिनामा रु ११ अर्ब १९ करोड ६७ लाख ८० हजार खर्च गरेको छ । चालु आव २०७९/८० को साउनदेखि पुस मसान्तसम्ममा १५ दशमलव ७८ प्रतिशत कूल खर्च भएको बताइएको छ । सो अवधिमा सरकारले रु १६ अर्ब १५ करोड विभिन्न शीर्षकबाट राजस्व सङ्कलन गरेको प्राप्त तथ्याङ्कले जनाएको छ । चालु आवको छ महिनामा उक्त राजस्व सङ्कलन सरकारको खर्चभन्दा बढी देखिएपनि गत आवको तुलनामा कम रहेको छ । गत आवको छ महिनामा सरकारले रु आठ अर्ब खर्च गरेको थियो भने सो अवधिमा सरकरले रु २३ अर्ब राजस्व सङ्कलन गरेको थियो । गत आवको सोही अवधिको तुलनामा प्रदेश सरकारको खर्च बढेको छ भने राजस्व सङ्कलनमा २९ प्रतिशतले कम भएको सो कार्यालयले जनाएको छ । सो कार्यालयका प्रमुख लेखा नियन्त्रक हरिप्रसाद उपाध्यायका अनुसार प्रदेश सरकारको मुख्य आयस्रोत घरजग्गा रजिष्टेशन, सवारी साधन, मूल्य अधिवृद्धि कर, लोकसेवाको परीक्षा शुल्क, कृषि फार्मको उत्पादन, प्रशासनिक दण्ड जरिवाना, बेरुजु असुललगायत छन् । साथै सङ्घीय सरकारबाट प्राप्त हुने मूल्य अभिवृद्धिकर घट्दा प्रदेश सरकारको आम्दानीसमेत कम भएको तथा घरजग्गाको रजिष्ट्रेशन शुल्क रु सात अर्ब अनुमानित रहेकोमा सो शुल्क कम भएकाले पनि आम्दानी कम भएको बताइएको छ । सरकारको आम्दानी कम भइरहको र खर्च बढी भइरहको विषयमा अध्ययन भइरहेको उहाँको भनाइ रहेको छ । छ महिनामा खर्च भएकोमध्ये रु छ अर्ब २१ करोड ८६ लाख १८ हजार पाँच सय ६३ चालु र रु चार अर्ब ३७ करोड ८१ लाख ६१ हजार आठ सय ५९ पुँजीगत खर्च हो ।
केपिलासगढी गाउँपालिकाले गर्‍यो सुर्तीजन्य पदार्थ न्युनीकरण सम्वन्धी सचेतना कार्यक्रम खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकाले सुर्तीजन्य पदार्थ सेवन न्युनीकरण सम्वन्धी सचेतना कार्यक्रम गरेको छ । सुर्तीजन्य पदार्थ सेवनका कारण हुने क्षतीबाट नागरिकलाई बचाउने लक्ष्यका साथ गाउँपालिकाको स्वास्थ्य शाखाले शुक्रबार सुर्य माबि सुंदेलमा सुर्तीजन्य पदार्थ सेवन न्युनीकरण सम्वन्धी सचेतना कार्यक्रम गरेको हो । वडाका जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, वाल क्लव, समाजसेवी, स्वास्थ्यकर्मी, संघसंस्थाका प्रतिनिधि लगायतलाई सहभागी गराएर सचेतना कार्यक्रम गरिएको गाउँपालिकाले जनाएको छ । युवा, महिला तथा वालबालिका अवस्थाका नागरिकलाई सुर्तिजन्य पदार्थको प्रयोगबाट बचाउन, धुम्रपान तथा सुर्ति सेवनले आर्थिक, सामाजिक र साँस्कृतिक क्रियाकलापमा पर्ने नकरात्मक असर नियन्त्रण गरी नागरिकको स्वास्थ्य र आर्थिक हित अभिबृद्धि गर्न, सुर्तिजन्य पदार्थको आयत, उत्पादन, विक्री वितरण तथा सेवन गर्ने कार्यलाई न्युनीकरण, नियन्त्रण र नियमन गर्ने लक्ष्यका साथ कार्यक्रम गरिएको हो । कार्यक्रममा सहभागीलाई धुम्रपान तथा सुर्ति सेवन गर्न छाडे हृदयघात, क्यान्सर, मधुमेहको जोखिम कम हुने, फोक्सो र श्वासप्रश्वास सम्वन्धी समस्या कम हुने, मुख, दाँत, गिँजा स्वस्थ रहने, उमेर नपुग्दै छाला चाउरी पर्ने सम्भावना कम हुने, आँखाको दृष्टि कमजोर हुनबाट जोगिने, श्रवण शक्ति कमजोर हुनबाट जोगिने, गर्भावस्थामा हुने जोखिम कम हुने लगायतका विषय वारे जानकारी दिइएको छ । कार्यक्रम गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख शिवकुमार राईको अध्यक्षता एबं सुर्य माबिका प्रअ ललितचन्द्र राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । स्वास्थ्यचौकी सुंदेलका प्रमुख रामप्रसाद आचार्यले सञ्चालन गरेको कार्यक्रममा हेल्थअसिस्टेन्ट मुडामणी जैसीले स्वागत मन्तव्य दिएका थिए । सन् २०२० को बिश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार सुर्तिजन्य पदार्थको सेवनका कारण बिश्वमा वार्षिक २४ लाख मानिसको मृत्यु हुने गरेको छ । सन् २०१८ को तथ्यांक हेर्दा ९६ लाख मानिसको क्यान्सरबाट मृत्यु भएको छ । बिश्वभर मृत्यु हुने कारणमध्ये क्यान्सर दोश्रो नम्बरमा पर्छ ।
रुपन्देहीमा पूर्वाधार निर्माणसँगै दुर्घटनाबाट गम्भीर घाइते, तिलोत्तमा सडकमा बढी दुर्घटना रूपन्देही। विकास निर्माणको पहिलो सूचक नै सडक हो। तीनै तहको सरकार पनि यसैलाई प्राथमिकता दिदै विकास तथा समृद्धिलाई पछाइरहेका छन्। गाँउलाई शहर र मुख्य राजमार्गसँग जोड्न महत्वाकांक्षी योजना पनि यिनै सरकारको छ। रुपन्देहीमा पनि पछिल्लो वर्ष यता बढ्दो शहरीकरण र पूर्वाधार विकासले सडकको स्तरोन्नती, विस्तार र नयाँ-नयाँ बाटो खोल्ने काम भइरहेका छन्। बढ्दो सडक सुधारले रुपन्देहीलाई विकसित शहरतर्फ लैजादै छ भने अर्कोतर्फ सवारी दुर्घटनाबाट गम्भिर घाइते र मृतकको संख्यामा समेत उकालो चढ्दै छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीको त्रि-वर्षीय सवारी दुर्घटनाको तथ्याङ अनुसार रुपन्देहीमा हुदै गरेको सडक विस्तार र स्तरोन्नतीसँगै सवारी दुर्घटनाको संख्या पनि बढेको हो। दुर्घटना बढेसँगै दुर्घटनामा घाइते हुने अधिकांस गम्भिर प्रकृतिको र मृतक हुने गरेका छन्। ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनिकरण गर्न ट्राफिक कार्यालयले विविध कार्यक्रम संचालन गरे पनि दुर्घटना र मृतकको संख्यामा भने न्यूनिकरण हुन सकेको छैन। जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीको तथ्याङक अनुसार रुपन्देहीमा आर्थिक वर्ष २०७७/७८मा १६२ वटा दुर्घटना भएकोमा ८२ जनाको मृत्यु र १८४ जना घाइते भएका थिए। घाइतेमध्ये १०५ जना पुरुष र ११ जना महिला गरी ११६ जना गम्भिर घाइते भएका थिए। यस्तै आर्थिक वर्ष २०७८/७९ मा १७२ वटा दुर्घटना भएकोमा ९४ जनाको मृत्यु भएको थियो। २३० जना घाइते मध्ये १३७ जना पुरुष र ३४ जना महिला गरी १७१ जना गम्भिर घाइते भएका थिए। पछिल्लो २ वर्षमा दुर्घटनामा कमि आए पनि मृतक र गम्भिर घाइतेको संख्या भने बढ्दो छ। चालु आर्थिक वर्षको ६ महिनामा रुपन्देहीमा ८५ वटा दुर्घटना भएको छ जसबाट ४४ जनाको मृत्यु भएको छ भने ५९ जना गम्भिर घाइते र २० जना सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ। सडक सञ्जाल र यातायातका साधन बढ्दै जाँदा सवारी दुर्घटना पनि बढ्दो छ। यस अवधिमा भएको दुर्घटना मध्ये सबै भन्दा तिब्र गतीको कारणले दुर्घटना भएको छ, यस्तै चालकको लापरवाही र यात्रुको गल्तीले पनि केही दुर्घटना भएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख ट्राफिक प्रहरी निरिक्षक साकार राज पन्तका अनुसार रुपन्देहीमा सबै भन्दा बढि दुर्घटना सिद्धार्थ राजमार्गको तिलोत्तमा नगरपालिकाको सडक खण्डमा भएको बताए। सडकको अवस्था स्तरीय र भरपर्दो भएकोले त्यस क्षेत्रमा अत्याधिक गतिकै कारण दुर्घटना बढि भएको देखिएको छ, पहिलाको तुलनामा सडकहरु स्तरीय बन्दै गएकोले लेन अनुशासन र गतिमा ध्यान नदिदा पनि उच्च गतिकै कारण दुर्घटनाबाट गम्भिर घाइते र मृतक हुनेको संख्या बढेको देखिएको छ। पहिला बाटोहरु साघुरो र स्तरीय नहुदा सवारी साधान विस्तारै जाने गरेकोमा अहिले तोकिएको भन्दा बढि गतिमा सवारी हाक्दा अधिकांस साझ ६ बजे पछि नै दुर्घटना भएको देखिन्छ। भएको दुर्घटना मध्ये धेरै जसो मोटरसाइकलबाट भएको छ भने केही ट्रक,टयाङकर,बस र अन्य सवारी साधनहरुबाट सवारी दुर्घटना भएको ट्राफिक प्रमुख पन्तले भने। पछिल्लो समय सडकमा बढ्दो सवारी चाप, सीमित बाटो, क्षमता भन्दा बढी यात्रु बाक्ने, सडकको अवस्था मौसमको कारण र हरेक वर्ष सवारी साधनको संख्या वृद्धि हुदैं जानुले दुर्घटना बढ्दै गएको छ। दुर्घटना तथा त्यसबाट हुने क्षति न्युनिकरणका लागि बिभिन्न कार्य गर्दै आए तापनि सडक सञ्जाल बिस्तार सँगै ट्राफिक नियम उल्लङ्घन, मादक पदार्थ खाएर सवारी चलाउनु चालकको लापरबाही, तिब्र गति, ट्राफिक शिक्षा नअपनाउने जस्ता कारणले सवारी दुर्घटना बढी रहेको छ। सवारी दुर्घटनाहरूमा धेरै चालकको गल्तीका कारण भएको अनुसन्धानले देखाएको छ। हालै मात्रै कार्यालय प्रमुखको जिम्मेवारीमा आएका प्रहरी निरिक्षक पन्तले लेन अनुशासनको पालन नदेखेपछि पहिलो चरणमै यहाँस्थित संस्था, विद्यालय,यातायात व्यवसायी, उद्योगी व्यवसायी र संचारकर्मी लगायतको सहकार्यमा ट्राफिक सचेतनामुलक कार्यक्रम सडकमै गर्न लागेका छन्। लेन अनुशासन सिकाउन र लेनको प्रयोगमा बानी विकास गर्न यो सप्ताहले केही सहयोग पुग्ने उनको अपेक्षा छ। ट्राफिक नियमको पालना गरौ सभ्य नागरिकको परिचय दिउँ भन्ने नाराका साथ ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन लागेको कार्यालयले शुन्य सहिष्णुता कायम गर्दै मातहतका कुनै युनिट र प्रहरीले गल्ती गरेको पाए त्त्काल सुधार गर्ने प्रमुख पन्तको दाबी छ। बजारमा यातायात पार्किङको लागि चुनौती हुदाहुदै पनि व्यवस्थापन भइरहेको छ। सीमित सडक तथा बाटोहरूमा दिनहँ बढीरहेका असिमित सवारी साधनहरूको व्यवस्थापन गर्नु निकै चुनौतीपूर्ण रहेको छ। हामीहरूको उद्देश्य नै दुर्घटना र क्षति न्युनिकरण हो, भरसक दुर्घटना नै नहोस भन्ने चाहना हो, त्यही अनुसार सचेतनामूलक कार्यक्रमहरू संचालन गर्ने छौं, उनले भने। सडक दुर्घटनालाई कम गराउन राजमार्गलाई वान वे गराई निश्चित लेनमा निश्चित गतिमा सवारी हाक्ने मापदण्ड अनिवार्य लागू गर्नु पर्छ। सडकको बीचमा डिभाइडर र छेउमा मान्छे छिर्न नमिल्ने बारहरू व्यवस्थापन गरेर अवरोधहरुलाई हटाउन सके अघिल्लो भागबाट ठोक्किएर हुने दुर्घटना र ओभर्टेक बाट हुने दुर्घटना रोक्न सकिन्छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले नियम विपरित सवारी चलाउनेलाई कारवाही पनि गर्ने गरेको छ। बिना लाइसेन्स सवारी साधन चलाए, क्षमताभन्दा बढी यात्रु बोके, यात्रुबाहकमा सामान ओसार पोसार गरे, बिना कागजात सवारी चलाए, तोकिएको सवारीसधान भन्दा बढी मालबस्तु बोके जरिवाना गर्ने व्यवस्था भए अनुरुप ट्राफिक प्रहरीले कारवाही गर्ने गर्छ । रुपन्देहीमा पछिल्लो तीन वर्षमा कारवाही हुनेको संख्यमा पनि बृद्धि भएको देखिएको छ। अर्थिक वर्ष २०७६÷७७मा २२ हजार २ सय ३७ सवारीसाधनलाई कारवाही गरेर १ करोड ८० लाख जरिवाना बुझेको छ। यस्तै आर्थिक २०७७÷७८मा यो संख्यामा बृद्धि भई ५८ हजार १ सय ८४ सवारीसधानलाई कारवाही गर्दा ५ करोड ७३ लाख राजश्व जरिवाना स्वरुप संकलन भएको छ भने आर्थिक वर्ष २०७८÷७९मा ६५ हजार ९सय ५० वटा सवारीसाधनलाई कारवाही गर्दा ६ करोड ९१ लाख राजश्व संकलन भएको छ। जति भौतिक पूर्वाधार व्यवस्थित हुँदै गएका छन् सोही अनुसार नियम मिच्ने पनि बढि रहेका छन्, यो चेतनाको अभाव र मनोमानीकै कारण भएको छ। कारवाही नै समाधान नभएपनि सचेत गराउनका लागि तोकिएको मापदण्ड अनुसार नै ट्राफिक प्रहरीले जरिवाना गर्दै आएको छ। चालु आर्थिक वर्षको पौष मसान्तसम्म पनि कार्यालयले २२ हजार २ सय पचास सवारीसाधनलाई कारवाही गरेर २ करोड १३ लाख राजश्व जरिवाना वापत संकलन गरिसकेको छ। कारवाही हुनेमा सबै भन्दा बढि ओभरलोडका ट्रक हुने गरेको छ, अधिकांस ओभरलोड ट्रकलाई ट्राफिक प्रहरीले बेलहिया बाइपासमै जरिवाना गरेर नेपाल भित्राउने गरेको छ।
राडी बजारमा स्थापना भएको नापी र मालपोत कार्यालय उद्घाटन भएदेखि नै बन्द सुर्खेत। रुकुम पश्चिमको आठबीसकोट-९ मा मालपोत र नापी कार्यालय स्थापना हुँदा थपिएको उत्साह अहिले निरासामा बदलिएको छ। कार्यालय स्थापना भएको चार महिनादेखि ठुलो ताल्चाले कार्यालयलाई स्वागत गरिरहेको छ। कार्यालय असोज १० गते उद्घाटन मात्र खुलेको त्यस यता पुरै समय बन्द भएपछि सेवाग्राहीको उत्साह निरासामा बदलिएको हो। जिल्लाको आठबीसकोट र बाँफीकोटका केही क्षेत्रलाई आधार मानेर कार्यालयमा साइनबोर्ड झुड्याएको छ। उक्त कार्यालय सञ्चालनका लागि केन्द्रबाट न कुनै पत्र आएको छ न त बजेट नै मालपोत कार्यालय रुकुमपश्चिमका कार्यालयका प्रमुख ओमबहादुर केसीले बताए। दैनिक सेवा लिन सर्वसाधारणहरु आउने गरेपनि बन्द भएको कार्यालय हेरेर फर्कने गरेको स्थानीय कमल शाहले बताए। अहिले यहाँ तोकिएका कर्मचारीहरु सदरमुकाममा फर्कीएका छन्।
महाशिवरात्रिको तयारीलाई मूल समारोह समिति गठन काठमाडौं । महाशिवरात्रिको तयारीका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ । पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद््को अध्यक्षसमेत रहेका मन्त्री किराँतीको अध्यक्षतामा बसेको बैठकले मूल समारोह समिति गठन गरेको हो । पशुपतिनाथमा आउने भक्तजनलाई सहज रुपमा दर्शनको व्यवस्था मिलाउन नौ उपसमितिसमेत गठन गरिएको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिए । कोषका सदस्य सचिव डा मिलनकुमार थापाको संयोजकत्वमा सुरक्षा व्यवस्था तथा शङ्कराचार्य निश्चलानन्द सरस्वतीको संयोजकत्वमा स्वागत तथा सत्कार उपसमिति गठन गरिएको छ । यसैगरी कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको संयोजकत्वमा प्रचारप्रसार, स्वयंसेवक व्यवस्था उपसमिति, परिषद्् सदस्यद्वय देवीप्रसाद बराल र उत्सव बडालको संयोजकत्वमा आवास, भोजन तथा भौतिक व्यवस्था उपसमिति गठन गरिएको छ । परिषद् सदस्य विश्वकरण जैनको संयोजकत्वमा स्वास्थ्य सेवाउपसमिति, परिषद् सदस्य आशा पाण्डेको संयोजकत्वमा वातावरण, सरसफाइ तथा जुत्ताचप्पल व्यवस्था उपसमिति, परिषद् सदस्य अर्जुनप्रसाद वास्तोलाको संयोजकत्वमा साधुसन्त तथा पूजा पाठ व्यवस्था उपसमिति गठन गरिएको छ । यसैगरी परिषद् सदस्य रमेशराज शिवाकोटीको संयोजकत्वमा मन्दिर दर्शन, चन्दन वितरण तथा रात्रिकालीन व्यवस्था उपसमिति, परिषद् सदस्य पूर्णबहादुर जेठाराको संयोजकत्वमा मेला, बजार व्यवस्थापन, साज सजावट उपसमिति र कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाको संयोजकत्वमा मूल्याङ्कन, तथ्याङ्क सङ्कलन तथा स्मारिका प्रकाशन उपसमिति गठन गरिएको छ । बैठकले महाशिवरात्रिका अवसरमा फागुन ६ गते पशुपतिनाथ मन्दिर प्राङ्गणमा नेपाली सेनालाईमात्र खटाउने निर्णय गरेको छ । महाशिवरात्रिका अवसरमा कोषले लिङ्ग पुराणसमेत आयोजना गर्न लागेको छ । यस वर्षको महाशिवरात्रिका अवसरमा जगन्नाथ पुरीस्थित गोवद्र्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वतीलाई आमन्त्रण गरेको कोषले जनाएको छ ।
‘एकसिङ्गे गैँडा नेपालको अमूल्य सम्पत्ति’ चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को एकसिङ्गे गैँडा नेपालका लागि अमूल्य सम्पत्ति भएको बताएका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आजदेखि जिल्लाको पटिहानीमा आयोजना गरेको गैँडा संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय छलफललाई भिडियो सन्देशमार्फत सम्बोधन गर्दै एकसिङ्गे गैँडाको सुरक्षामा सरकार संवेदनशील रहेको बताए । उनले गैँडाको सुरक्षाका लागि बासस्थान चुनौतीपूर्ण बन्दै गएको भन्दै सम्बन्धित क्षेत्रका विज्ञको सुझावमा सरकारले योजना ल्याएर वन्यजन्तु जोगाउने बताए । नेपालको प्राकृतिक सम्पदा, गैँडालगायत वन्यजन्तुको बासस्थान भएकै कारण विदेशीहरू नेपाल आउने गरेको र यसले नेपालको आर्थिक विकासमा टेवा पु¥याएको उनको भनाइ छ । “जनावरको संरक्षणले पारिस्थतिकीय प्रणालीको रक्षा गर्छ । नेपाल सरकारले उचित तरिकाले त्यस्ता जनावरको सुरक्षामा प्रभावकारी काम गर्न प्रतिबद्ध छ”, उनले भने । स्थानीयको सहयोग र सहभागितामा वन्यजन्तु सुरक्षा गरिने प्रधानमन्त्री दाहालको भनाइ छ । विश्वमा भइरहेको वातावरणीय प्रभावको कारण पनि जनावरको संरक्षणमा चुनौती थपिँदै गएको उनले बताए । एसियाका पाँच देशसहित १० देशका संरक्षणकर्मीको सहभागिता रहेको छलफल कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले वन्यजन्तु संरक्षणमा चुनौती थपिँदै गएको बताए । दुर्लभ एकसिङ्गे गैँडा संरक्षणमा राज्यले विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो । उनले भने, “गैँडासहित वन्यजन्तु संरक्षणका लागि विस्तृत योजना बनाएर अघि बढ्नुपर्छ ।” तीनवटै तहका सरकारको संयोजनमा गैँडा संरक्षण गर्नुपर्ने समय आएको उनको भनाइ छ । ‘थर्ड राइनो रेञ्ज कन्ट्रिज मिटिङ’ नाम दिइएको कार्यक्रममा नेपाल, भारत, भूटान, इन्डोनेसिया र मलेसियाका उच्च अधिकारीहरू सहभागी छन् । उनीहरूले आ–आफ्नो देशमा गैँडा संरक्षणका क्षेत्रमा भएका प्रगतिहरू प्रस्तुत गर्नु हुनेछ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी डा गणेश पन्तका अनुसार बैठकमा भेनेजुएयला, संयुक्त अरब इमिरेट्स, केन्या, दक्षिण अफ्रिकालगायतका देशका संरक्षणकर्मीहरू पनि सहभागी हुनुभएको छ । सम्मेलनका सहभागीहरूले गैँडा संरक्षणमा देखिएका चुनौती र भावि योजनाको विषयमा छलफल गर्नुहुनेछ । संरक्षणको बिषयमा सामूहिक दायित्व लिएर कसरी अघि बढ्न सकिन्छ भन्ने विषयमा समेत छलफल हुने पन्तले जानकारी दिनुभयो । नेपाल विश्वमै एकसिङ्गे गैँडाको दोस्रो ठूलो बासस्थान हो । भारतको काजिरङ्गपछि नेपालको चितवन राष्ट्रिय निकुञ्जमा धेरै गैँडा पाइन्छन् । विदेशमा गैँडा संरक्षणमा भएका प्रयास र सिकाइलाई आपसमा साटासाट गर्न यो कार्यक्रम सहयोगी बन्ने विश्वास लिइएको छ । कार्यक्रममा संरक्षणका विषयमा भावी योजनासमेत निर्माण गरिने पन्तले वताउनुभयो । पाँच देशका अधिकारीहरूले आफ्नो देशमा संरक्षणका क्षेत्रमा भएका प्रयासबारेमा जानकारी गराएसँगै विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ । नेपालका तर्फबाट वातावरणमा आएको परिवर्तनले वन्यजन्तु र बासस्थानमा परेको असर र गैँडा संरक्षणमा भएका कामसँगै शून्य चोरी सिकारी नियन्त्रणका विषयमा कार्यपत्र प्रस्तुत गरिनेछ । शनिबार गैँडाको बासस्थानको अध्ययन गरिने कार्यक्रम छ । यस्तै आइतबार संरक्षणसम्बन्धी चितवन घोषणापत्र सार्वजनिक गरिनेछ । छलफलमा ३० विदेशी र ३० जना नेपाली संरक्षण तथा अधिकारी सहभागी छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा महेश्वर ढकाल, राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष डा कृष्णप्रसाद ओली र विभागका उपमहानिर्देशक अजय कार्कीले भनाइ राख्नुभएको थियो । यसअघि ‘राइनो रेञ्ज कन्ट्रिज मिटिङ’ पहिलो पटक इण्डोनेसिया र दोस्र्रो भारतको नयाँदिल्लीमा भएको थियो ।
मुगुका बाढी पीडितलाई राहत वितरण मुगु  । मुगुका बाढीपहिरो प्रभावित परिवार राहत वितरण गरिएकाे छ ।  छायाँनाथ रारा नगरपालिका -८ का बाढीपहिराे पीडित परिवारलाई शुक्रबार राहत वितरण गरिएकाे हाे । टेवा नेपाल काठमाडौको आर्थिक सहयोग र महिला अधिकार केन्द्र मुगुको समन्वयमा पीडित ३० परिवारलाई ८ नं वडा कार्यालयले प्रति घर ३० केजी चालल, २ केजी दाल, १ पाकेट नुन, डसना सिरक र तन्ना वितरण गरिएकाे हाे । गत असोज १८ देखि २३ गतेसम्म् अविरल वर्षाका कारण घरबारी गुमाएका पीडितलाई राहत दिइएकाे हाे । गत असोजमा गएकाे बाढीपहिराेले मुगुका चारवटै पालिकामा करोडौको भौतिक सम्पत्तिमा क्षति गरेकाे थियाे ।
कर्णालीमा बढ्दैछन् लागूऔषध दुर्व्यसनी भेरीगङ्गा। कर्णालीमा लागूऔषध दुव्र्यसनी बढेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्। लागूऔषधको अवैध ओसापसार र बिक्री वितरण रोक्ने विशेष पहल गर्नुपर्नेमा सरोकारवालाको जोड छ। सबैको समन्वयमा नै अहिले बढिरहेको लागूऔषध दुर्व्यसन नियन्त्रण गर्न सकिने उनीहरुको भनाइ छ। नागरिक समाजका अगुवा पिताम्बर ढकाल विभिन्न नाकामा कडाइ गर्नाका साथै सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा सुझाव दिन्छन्। उनी भन्छन्, “प्रदेश भित्रिने नाकामा कडाइ गर्नुपर्छ, कडाइ मात्र गरेर भएन, सचेतनाका कार्यक्रम आम नागरिकसम्म पुर्‍याउन सके मात्रै लागूऔषध न्यूनीकरण गर्न सकिन्छ।” पछिल्लो समय कर्णालीमा लागूऔषध दुव्र्यसनी बढिरहेको बताउँदै यसको न्यूनीकरणमा अहिलेदेखि नै नलागे भयावह स्थिति आउन सक्ने ढकालले बताए। सरोकारवाला नारायण सुवेदीले पनि लागूऔषध दुर्व्यसन प्रयोगकर्ताको सङ्ख्या बढ्दो क्रममा रहेको भन्दै दुर्व्यसनी बढ्नुका कारणको खोजी हुनुपर्ने सुझाव दिए। गैरसरकारी संस्था र सरकारले सञ्चालन गरेका कार्यक्रम प्रभावकारी नभएको उनी बताउँछन्। उनले भने, “लागूऔषध न्यूनीकरणका लागि कानुन कार्यान्वयनसँगै विभिन्न सरकारी तथा गैरसरकारी निकायले गरेका कार्यक्रमलाई प्रभावकारी बनाउन म सुझाव दिन्छु।” प्रदेश प्रहरी कार्यालयका अनुसार चालू आर्थिकको हालसम्म लागूऔषधको ओसारपसार, प्रयोग र बिक्री वितरणका ५५ मुद्दा प्रहरीमा दर्ता भएका छन्। उक्त घटनामा एक सय दुई जनालाई प्रतिवादी बनाई प्रहरीले पक्राउ गरेको कर्णाली प्रदेश प्रहरी प्रवक्ता माधवप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । त्यसमा ९८ पुरुष र सात महिला संलग्न रहेका छन्। गत आव २०७८/७९ मा ९५ मुद्दा प्रहरीमा दर्ता भएका थिए। त्यसमा संलग्न रहेको आरोपमा प्रहरीले एक सय ७२ जनालाई मुद्दा दायर गरी पक्राउ गरेको थियो। प्रहरी प्रवक्ता श्रेष्ठले बर्सेनि लागूऔषध दुर्व्यसन बढेको भन्दै नियन्त्रणका लागि सबै पक्षले हातेमालो गर्नुपर्ने आवश्यकता औँल्याए। “विद्यालय तहदेखि नै लागूऔषध नियन्त्रणसम्बन्धी सचेतना फैलाउन आवश्यक छ”, प्रवक्ता श्रेष्ठले भने, “अब सबै पक्षले हातेमालो नगरे कर्णाली प्रदेशमा लागूऔषध दुर्व्यसनी दर भयावह हुन सक्छ, त्यसैले विद्यालय तहदेखि सचेतनाका कार्यक्रम सञ्चालन गर्न आवश्यक देखिन्छ।”
झापा र धादिङमा सवारी दुर्घटना : २ जनाको मृत्यु, ६ जना घाइते काठमाडौं। झापा र धादिङमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। झापाको शिवसताक्षी नगरपालिका १ कमलपुमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ। इटहरीबाट काकडभिट्टा तर्फ आउँदै गरेको ना ६ ख ८८९५ नम्बरको ट्रकको पछाडी सोही दिशा बाट आउँदै गरेको फलामको रड बोकेको ना ५ ख ८३११ नम्बको ट्रकले ठक्कर दिएको थियो। दुर्घटनमा ८३११ नम्बरका ट्रक चालक सुनसरीको रामधुनी नगरपालिका ७ का ४५ वर्षीय मदन चौधरी र नामथर र ठेगाना नखुलेका एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको हो। गम्भीर घाइते भएका उनीहरुलाई दमक अस्पताल पुर्‍याउन साथ चिकित्सकले मृत घोषणा गरेको हो। शुक्रबार बिहान साढे ५ बजे भएको सवारी दुर्घटनमा संलग्न दुबै सवारी र अर्का ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। यता, धादिङको बेनिघाट रोराङ गाउँपालिका-३ सलाङघाटमा शुक्रबार बिहान बस पल्टिँदा बसमा सवार ६ जना यात्रु घाइते भएका हुन्। घाइते भएका मध्य बर्दियाको बारबर्दिया नगरपालिका-५ बस्ने २० बर्षीय सुरज तिमल्सिना, नवलपरासीको कावासोती नगरपालिका-२ सरस्वति चोक बस्ने ४० बर्षीया लक्ष्मी पाण्डे र सल्यानको बुङकोट नगरपालिका ७ बस्ने २१ बर्षीय सुरज विश्वकर्माको अवस्था गम्भीर रहेको छ। गम्भीर घाईतेहरूलाई उपचारको लागि काठमाडौँ ल्याइएको छ । बाँकी घाइतेको राजमार्ग अस्पताल मलेखुमा उपचार भइरहेको छ। उनीहरूको अवस्था भने सामान्य रहेको छ। नेपालगन्जबाट काठमाडौँ तर्फ आउदै गरेको ना ६ ख ४०५ नम्बरको बस अनियन्त्रित भई शुक्रबार बिहान सवा ७ बजे सडकमै पल्टिएको इलाका प्रहरी कार्यालय बेनिघाटले जनाएको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
लामीडाँडा बिमानस्थलमा उडान नहुँदा होटलमा लाग्यो ताला खोटाङ। खोटाङको लामीडाँडा बिमानस्थलमा उडान बन्द हुँदा दर्जनौं होटल बन्द भएका छन्। रावाबेँसी गाउँपालिका-३ लामीडाँडास्थित विमानस्थलमा २०७३ सालदेखि उडान नहुँदा दर्जनौं होटलमा ताला लागेको हो। २०२८ सालदेखि सञ्चालनमा आएको लामीडाँडा बिमानस्थलमा उडान नहुँदा स्थानीय होटल तथा पसल सुनसान बनेको छ। बिमानस्थलका कारण आर्थिक केन्द्रका रुपमा विकास हुँदैगएको लामीडाँडामा हिजोआज ग्राहक पाउन छाडिएको स्थानीय व्यवसायी जगत थापाले बताए। दुई चार वटा बाहेक अन्य होटलहरुमा ताला लागेको छ । होटल तथा पसल अगाडि झारपात पलाएको छ । भिडभाड हुने होटल चल्न छाडेपछि अधिकांश व्यवसायी पुरानै पेशा खेतीपातीतिर फर्किएका छन्। खोटाङका तीन वटा बिमानस्थलमध्ये लामीडाँडा बिमानस्थल सबैभन्दा पुरानो बिमानस्थल हो। पर्यटकीय सिजनमा लामीडाँडा बिमानस्थलमा एकैदिन हजाइजहाज र हेलीकोप्टर गरी ६० देखि ६८ फ्लाईट हुन्थ्यो। यात्रुको ओहोर-दोहोरले होटल र पसलमा ग्राहक भरिभराउ हुन्थे। फ्लाईट क्यान्सिल हुँदा उत्तिकै मात्रामा यात्रु रोकिन्थे। तर, कच्ची र धुलाम्मे बिमानस्थल हुँदा नियमित उडान भइरहेको बिमानस्थलमा कालोपत्रे गरेपछि भने उडान हुन छाडेको लामीडाँडाका वडासदस्य महेशकुमार श्रेष्ठले बताए। कालोपत्रे गरिएपछि लामीडाँडामा २०७६ असार ३ गते परिक्षण उडान भरिएको थियो। त्यस यता बिमानस्थललाई परिक्षण उडानमै सिमित राखिएको छ। २०७३ असोज १९ गतेदेखि सुरु गरिएको बिमानस्थल कालोपत्रेको काम २०७५ चैत २८ गते सकिएको थियो। सेड्युल बनाएर उडान नहुँदा र यात्रु नपाउँदा लामीडाँडामा उडान बन्द भएको हो। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-४ खाल्लेस्थित मनमायाँ राई खानीडाँडा बिमानस्थल र खोटेहाङ गाउँपालिका-४ बड्कादियालेस्थित थामखर्क विमानस्थल सञ्चालनमा आउनु अगाडि लामीडाँडा बिमानस्थल जिल्लाको एक मात्र हवाई यात्राको माध्यम थियो। लामीडाँडामा दैनिक यात्रुको घुईचो लाग्ने गरेको थियो। होटल तथा व्यापार व्यवसाय फस्टाउँदो थियो। होटलबाट स्थानीय व्यवसायीले राम्रो आम्दानी गर्दैआएका थिए। तर हिजोआज बैंकमा आउने सेवाग्राहीको कारण मात्र लामीडाँडामा केही जमघट हुने गरेको देखिन्छ। उडान नहुँदा रावाबेँसी गाउँपालिका, ऐसेलुखर्क गाउँपालिका र केपिलासगढी गाउँपालिका, ओखलढुंगाको कुइभीर र सोलुखुम्बुका केही स्थानका स्थानीय बढी मारमा परेका छन्। यातायात, पर्यटन, कृषि, स्वास्थ्य लगायतका क्षेत्रमा उत्तिकै अशर परिरहेको छ। उडान नहुँदा बिरामी र अशक्तलाई उपचारका क्रममा अन्यत्र लैजान समस्या भइरहेको रावाबेँसी गाउँपालिका अध्यक्ष फटिककुमार श्रेष्ठले बताए। सोलुखुम्बु, पाथीभरा, हलेसी सिजनमा लामीडाँडामा पार्किङ अभावमा जहाज र हेलीकोप्टरलाई आकाशमै होल्डमा राखेर अवतरण गराइन्थ्यो। पर्यटकीय सिजनमा धेरैजसो सोलुखुम्बुको लुक्ला ओहोर दोहोर गर्ने जहाजलाई लामीडाँडामा ‘वेटिङ फ्लाईट’ गराइन्थ्यो। तर कालोपत्रे बिमानस्थलमा परिक्षण उडानपछि सिता एयरको जहाजले दुई पल्ट उडान भर्नु बाहेक अन्य उडान हुन सकेको छैन। यसबीचमा मौसमका कारण लुक्ला र फाप्लुबाट डाइभर्ट भएका हेलीकोप्टरले १०/१५ पटक ‘वेटिङ फ्लाईट’ गरेको स्थानीय बताउँछन्। पछिल्लो समय खोटाङमा बैकल्पिक बिमानस्थल सञ्चालनमा आए। सँगसँगै गाउँ-गाउँ पुग्ने सडक सञ्जाल विस्तार भए। अहिले यात्रु लिनकालागि घर घरमै जिप पुग्न थालेको छ। त्यसका कारण पनि लामीडाँडा बिमानस्थलमा नियमित उडान हुन नसकेको स्थानीय युवा नेता खेमराज देउसालीले बताए।
तुलसीपुरमा दुईवटा चक्रपथ बनाइँदै तुलसीपुर। दाङ तुलसीपुरमा बाहिरी चक्रपथ निर्माण हुने भएको छ। तुलसीपुर उपमहानगरपालिकाका इञ्जीनियर पवन योगीका अनुसार शीतलपुरबाट मजगैसम्मको बाहिरी चक्रपथ निर्माण गर्नका लागि अध्ययन गरिने भएको छ। उपमहानगरपालिकाको कार्यपालिका बैठकले बाहिरी चक्रपथ निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने निर्णय गरेको हो। “बजारमा सवारीको चाप निकै भयो”, इञ्जीनियर योगीले भने, “त्यसलाई मध्यनजर गरी बाहिरी चक्रपथ निर्माण गर्न लागिएको हो।” यसअघि उपमहानगरपालिकाले भित्री चक्रपथ निर्माण सुरु गरेको थियो। त्यो चक्रपथको काम पनि अगाडि बढ्न सकेको छैन। उक्त चक्रपथको ट्र्याक खोलिएको भए पनि कालोपत्र गर्ने काम भने निकै सुस्तगतिमा छ। अहिलेसम्म करिब साढे दुई किलोमिटरमात्रै कालोपत्र भएको छ। उपमहानगरपालिकाले डेढ किलोमिटर कालोपत्र गरेको हो। त्यसपछि केन्द्रीयस्तरको योजना रहेको भन्दै डिभिजन सडक कार्यालय दाङले डिपिआर गरेपछि प्रदेशले कालोपत्रको काम गरिरहेको छ। अहिलेसम्म प्रदेशले एक किलोमिटरभन्दा बढी कालोपत्र गर्न सकेको छैन। एक दशक अघिदेखि निर्माण सुरु भएको चक्रपथको काम सुस्तगतिमा अघि बढेको छ। वैकल्पिक सडकका रूपमा लिइएको चक्रपथको काम ढिलो हुँदा यात्रुले सास्ती खेप्नुपरेको छ। तुलसीपुर उपमहानगरपालिका–७ राजापुरबाट रक्षाचौर आँखा अस्पताल–तुलसीपुर–३ डाँडाखुट्टी, तुलसीपुर–८ टिकरी, तुलसीपुर–१२ को टरिगाउँ हुँदै राजापुर जोड्ने चक्रपथ निर्माणको रेखाङ्कन गरिएको थियो। यसको २९ किलोमिटर लम्बाइ थियो भने ३० मिटर चौडाइ रहेको छ। साविक नगरपालिकाको सबै क्षेत्रलाई छुने गरी करिब ३७ किलोमिटर लामो चक्रपथ निर्माण हुने भने पनि निर्माण प्रक्रिया सुस्त भएको हो। उपमहानगरले आर्थिक वर्ष २०७७\७८ को नीति तथा कार्यक्रममा तुलसीपुर चक्रपथ निर्माणका लागि रु एक करोड ४० लाख, आव २०७८\७९ मा तुलसीपुर चक्रपथ निर्माणलाई निरन्तरता दिन प्रदेश सरकारमार्फत रु एक करोड ५० लाख बजेट व्यवस्था गरेको थियो। साविकका नगरपालिका हुँदा १३औँ नगर परिषद्ले चक्रपथ निर्माणका लागि पारित गरेर काम सुरु गरेको थियो। तुलसीपुर नगरपालिका उपमहानगरपालिका भएर अन्य गाविस पनि गाभिएपछि केही समय यसको काम रोकिएको थियो। तर जनप्रतिनिधि आएपछि चक्रपथ निर्माणको काम सुरु भए पनि त्यसले निरन्तरता पाउन सकेन।
युट्युब हेरेरै उद्यमी बझाङ । सामाजिक सञ्जालको प्रयोगलाई धेरैले गलतरूपमा टिप्पणी गर्छन् । केहीे सूचनाको माध्यम भए पनि धेरै दुरूपयोग हुने गरेको भन्दै विश्वसनीय मान्दैनन् । तर त्यसै सामाजिक सञ्जालबाट सिकेर नै एक युवा उद्यमी बन्नुभएको छ भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । सामाजिक सञ्जाल फेसबुक, युट्युब, टिकटक, ट्वीटरमा रातदिन नै व्यतित गर्ने अधिकांश युवामाझ फरक तरिकाले उद्यमी बनेका युवा छन् भुवन जोशी । करिब एक दशकसम्म शिक्षक पेसामा आबद्ध जोशीले युट्युबकै सहारामा गत वर्ष न्यू मालिका फुड्स एण्ड प्रोडक्ट नामक उद्योग सञ्चालनमा ल्याए । खप्तडछान्ना गाउँपालिका–७ धर्तिवाडा बझाङका जोशीले व्यवसाय सुरु गरेको एक वर्षमै दोब्बर कमाइ गरे । स्नातक उत्तीर्ण गरेलगत्तै निजी तथा सामुदायिक विद्यालयमा अध्यापन गराएका जोशी विद्यालयमा झन्झटिलो भएर काम गर्नुभन्दा स्वतन्त्र हुन व्यवसाय गर्न चाहन्थे । दैलेखको एक निजी विद्यालयमा तीन वर्ष र अछामको एक सामुदायिक विद्यालयमा छ वर्ष काम गरेपछि उनलाई कुनै नै कुनै व्यवसायमा आबद्ध हुने सोच पलायो । “अब कुनै न कुनै व्यवसायमा हात हाल्नुप¥यो सोचिसकेको थिएँ”, उनी भन्छन्, “दिनभरि विद्यालयमा पढाउँदा पनि डाकै (स्वर) सुकिहाल्ने । बिहान–बेलुका मोबाइल हेर्दैमा ठिक्क । एक दिन युट्युबमा प्रेरणादायी कथा सुन्दै गर्दा सडकबाट करोडपति भएका व्यवसायीसँग ठोक्किए । तिनका कुराहरू बुझ्दै जाँदा जुनसुकै पेसा व्यवसायमा पनि मेहनतले फल दिन्छ भन्ने बुझेँ र अछामबाट दशैँ बिदामा घर आएँ ।” दशैँ बिदामा घर आएको बेलामा शिक्षक पेसा छोडेर व्यवसाय गर्छुभन्दा जोशीलाई परिवारले ठाडै अस्वीकार ग¥यो । भएको शिक्षक पेसा छाडेर व्यवसाय गर्छु भन्दै डुल्न खोजेको भन्दै कसैले पनि उनको कुरा सुन्नै चाहेन । परिवारको सुझाव बेवास्ता गर्दै जोशीले विद्यालय छाडिदिए । आफू विद्यालयमा आउन नसक्ने भन्दै प्रअलाई टेलिफोन गरे र गाउँमै बस्न थाले । दुई–चार दिन परिवारमा नरमाइलो भयो । जोशी गडरायतिर डुलिरहे । पालिकाभरि नै डुले । बाहिरबाट ल्याएको चाउमिन महँगोमा किन्नुपर्ने व्यवसायीको गन्थन सुन् । त्यसपछि उनको सोच चाउमिन उद्योगमा गयो । “गडरायमा चाउमिन उद्योग सञ्चालन गर्नुप¥यो भनेर कैलालीका उद्योगीसँग सल्लाह लिएँ”, उनी भन्छन्, “कैलालीबाट फर्कँदा मेसिनलगायतका सामान लिएर आएँ । युट्युब हेर्दै जडान गरेँ । त्यसरी नै सिके । युट्युब हेर्दै सिक्न एक महिना नै लाग्यो । त्यसपछि चाउमिन बनाउने भइसकेँ ।” बिहान चाउमिन बनाउने र दिउँसो गडराय बजारकै होटलमा बेच्नु उनको दैनिकी भयो । विस्तारै व्यवसाय बढ्दै गएपछि दुई जनालाई रोजगारीसमेत दिए । गत वर्ष गडरायलाई मात्र पुग्ने चाउमिन अहिले दुई पालिकाभर जान्छ । आजभोलि दैनिक डेढ क्विन्टल चाउमिन उत्पादन गरिरहेको उनी सुनाउँछन् । जोशीको उद्योगबाट अहिले बझाङ, बाजुराका क्रमशः खप्तडछान्ना र खप्तडछेडेदह गाउँपालिकाका होटलमा चाउमिन छ्यापछ्याप्ती छ । जोशीका अनुसार मागअनुसार चाउमिन उत्पादन गरिन्छ । “हामी मागअनुसार चाउमिन उत्पादन गर्छौँ । नियमित डेढ क्विन्टल हो । मागअनुसार चार–पाँच क्विन्टल पनि बनाउँछौँ”, उनले भने । बाजुरामा मात्रै जोशीले उत्पादन गरेको चाउमिन दैनिक ७०–८० केजी जान्छ । बझाङमा भने माग पु¥याउनै नसकेको उहाँ बताउँछन् । उनी बजारमा चाउमिन पु¥याउन पनि आफैँ जान्छन् । बिहानभर चाउमिन बनाउने र दैनिक बिक्री गर्ने गरेको उनी बताउँछन् । तीन महिनामै असुल भयो लगानी जोशीले चाउमिन उद्योग सञ्चालन गरेको तीन महिनामै लगानी असुल भइसकेको थियो । “सुरूआती तीन महिनामै लगानी असुल भइसक्यो”, उनी भन्छन्, “अब जति गर्न सक्यो, त्यो आफ्नै फाइदा हुन्छ, तर भने जति पु¥याउन सकेको छैन ।” उनका अनुसार अहिलेसम्म कतैबाट अनुदान सहयोग भने प्राप्त भएको छैन । “अहिलेसम्म माग गरेको ठाउँबाट केही पाइएन, अहिले पनि दुई ठाउँमा अनुदानका लागि निवेदन हालेको छु”, उनले भने, “अनुदान पाइयो भने उद्योग नै बढाउने थिएँ । दुई–चार जना कर्मचारीसमेत थपेर व्यवसाय बढाउने सोच छ । त्यसका लागि लागिरहेको छु ।” जोशीले उद्योग सुरु गर्दा सुरुमा रु पाँच लाख लगानी गरे । “सुरु गरेको एक महिनामा सिक्नै लाग्यो । अलि–अलि बिक्री पनि भयो । दोस्रो महिनाबाट भने दशैँको सिजनमा गडरायमै चाउमिन जति पनि खपत हुने भयो । त्यही दुई महिनाको आम्दानीबाट लगानी असुल भयो । अहिले हरेक महिना डेढ–दुई लाखसम्मको कारोबार भइरहन्छ”, उनी भन्छन् । अहिले भुवनको काम देखेर परिवारमा पनि सबै खुसी छन् । “सुरुमा जागिर नछोड् भनेका हौँ”, उनका दाजु वाल्मीकि जोशीले भने, “अहिले भने घरमै भाइले धेरै राम्रो व्यवसाय गरिरहेको छ । त्यसको कामप्रति परिवारमा सबै खुसी छन् ।” जोशी अहिले बेरोजगार युवाका लागि प्रेरणाका स्रोत भएका छन् । “काम गर्नेलाई यहाँ पनि राम्रै छ । यसै छान्नामा पनि चार–पाँचवटा चाउमिन उद्योग राम्र्रै चल्छन् । तर गर्ने मान्छे छैनन् । चाउमिनमा मात्रै नभई मिल, काठे उद्योग, तरकारी खेतीलगायतका काम गर्न सकिन्छ ।” उनले चाउमिनमा भने कम मेहनत, छोटो समयमा धेरै राम्रो उपलब्धि हुने गरेको बताए । चाउमिनमा दैनिक चार घण्टा काम गरे पर्याप्त हुने उनी बताउँछन् । “दैनिक चार घण्टा त मेसिनमा पिठो तयार बनाउनसम्म खटेरै काम गर्नुपर्छ । बाँकी समय त बजार डुल्ने हो । यसमा खर्च पनि दाउरा र इन्धनमात्रै लाग्छ, धेरै खर्च पनि हुँदैन”, उनी भन्छन् ।रासस
सात वर्षमा पुनःनिर्माण गरिएको जयवागेश्वरी भक्तजनलाई खुला गरिँदै काठमाडौँ । भूकम्पले क्षतिग्रस्त पशुपति क्षेत्रको जयवागेश्वरी मन्दिर माटोको जोडाइबाट पुनःनिर्माण सम्पन्न गरी शुक्रबारदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त मन्दिर पुनःनिर्माण सम्पन्न गरेर शुक्रबार बिहान क्षमापूजासहित प्राण प्रतिष्ठा गरेर सर्वसाधारणका लागि खुला गर्न लागिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । सर्वसाधारणका लागि मन्दिर खुला गर्ने क्रममा कन्याकुमारी र त्रिदेवीको पनि पूजा गरिने भएको छ । रु तीन करोड १४ लाखमा मन्दिर पुनःनिर्माण भएको हो । विश्व सम्पदा सूचीमा सूचिकृत स्थल भएकाले प्राचीन स्मारक संरक्षण ऐन अनुसार यहाँ पुनःनिर्माण गरिएको हो । भूकम्पको एक महिना पनि नबित्दै कोषले २०७२ जेठ ४ गते एड्भेन्चर टुर एण्ड ट्राभलका सञ्चालक कल्याण शर्मालाई पुनःनिर्माणको सैद्धान्तिक स्वीकृति दिएको थियो । शर्माले पुनःनिर्माणको काम शुरु गर्न नसकेपछि २०७४ सालमा सम्झौता रद्ध गरियो । सम्झौता गरेका दाताले क्षतिग्रस्त मन्दिरको पुनःनिर्माण ३५ महिना बित्दा पनि नगरेपछि पशुपति क्षेत्र विकास कोषले सम्झौता रद्ध गरेको हो । दाता शर्मा शुरुमा पुरातत्वले नक्सा र डिजाइन स्वीकृत गर्न समय लगाएको, स्वीकृत भएर पुनःनिर्माण शुरु गर्दा स्थानीयवासीले अवरोध गरेकाले आफू पुनःनिर्माणबाट पछि हट्न बाध्य भएको बताउँछन् । सती प्रथा रहुञ्जेल राजा महाराजाको निधनमा सती जाने रानीहरुको गरगहना सबै जयवागेश्वरीलाई चढाइने गरिन्थ्यो भन्ने भनाइ स्थानीयवासीबीच चर्चित छ । चढाइएको गरगहना लगायत सम्पत्तिको कुनै अभिलेख नरहेको पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव एवं संस्कृतिविद् डा गोविन्द टण्डन बताउँछन् । जीर्ण मन्दिर भत्काउने क्रममा मन्दिरभित्र भैरव लगायत विभिन्न देवी देवताका चित्र, तीन गजुरको मन्दिर लगायत संरचना भेटिएपछि पुरातत्वविद्, संस्कृतिविद् लगायत विज्ञको समिति गठन भएको थियो । समितिले माटोको जोडाइबाट मन्दिर पुनःनिर्माण गर्नुपर्ने सिफारिससहितको प्रतिवेदन दिएको थियो । सडकमा रहेको मन्दिर पुनःनिर्माणका लागि चुना सुर्कीको लागत अनुमानसहित कोषले २०७५ माघमा तुलसी कन्स्ट्रक्सनसँग दुई वर्षमा पुनःनिर्माण सक्ने गरी सम्झौता गरिएको थियो । सम्झौता अनुसार मन्दिर पुनःनिर्माणका लागि भत्काउने क्रममा तीन गजुरसहितको भित्री मन्दिर, भैरवसहित विभिन्न देवीदेवताका भित्तेचित्र लगायत संरचना भेटिएको थियो । पुरातत्व विभागका महानिर्देशक एवं विज्ञ समितिका सदस्य दामोदर गौतम ऐतिहासिक, पुरातात्विक महत्वका मन्दिर पहिले जस्तै पहिले प्रयोग भएकै निर्माण सामग्री प्रयोग गरेर बनाउनुपर्ने कानूनी व्यवस्था अनुसार कोषलाई सुझाव दिए अनुसार नै काम भएको बताउँछन् । माटो परीक्षण गरेर पहिलेकै जस्तो गुणस्तरीय माटोबाट मन्दिर बनाउनुपर्ने प्रतिवेदन दिएको उनले सुनाए । माटोको जोडाइबाट पुनःनिर्माण गर्दा भित्र भेटिएका चित्र यथावत् राखिएको छ । विज्ञ समितिको प्रतिवेदन अनुसार कोषले यसअघि माटोको जोडाइबाट बनाइएका मन्दिरको अध्ययन गरेर सुझाव दिएको हो । साँखुस्थित बज्रयोगिनी मन्दिरमा इट्टाको बीचमा राखिएको माटोको परीक्षण गरिएको थियो । ऐतिहासिक पृष्ठभूमि जयवागेश्वरीको निर्माण कलिगत संवत् ३२३२ मा शुरु भएर ४७ वर्षपछि ३२७४ मा सम्पन्न भएको थियो । विसं १९९० को भूकम्पले क्षति पुगेको मन्दिर त्यसबेला जीर्णोद्धार गरिएको थियो । मन्दिरको कलेबर १२/१२ वर्षमा फेर्ने गरिएको छ । कलेवर फेर्दा जयवागेश्वरी, गणेश र भैरवको माटाको नयाँ मूर्ति बनाइन्छ । जयवागेश्वरीमा टाउको काटिनु अघिको गणेशको मूर्ति रहेको छ । यसैले यहाँको गणेशको मूर्तिमा सूँढ नभएको स्थानीय सन्देश मुनिकारले बताए । जयवागेश्वरीलाई महासरस्वती, महाकाली र महालक्ष्मीका रुपमा मानिए पनि विद्याकी देवीका रुपमा बढी पुज्ने गरिएको छ । तन्त्र साधना गर्नेले अन्तिममा जयवागेश्वरीमै आएर पूजा गर्ने परम्परा छ । मन्दिरसँगै सुन्धारा पनि स्थापना भएकामा हाल यसको अस्तित्व लोप हुने अवस्थामा पुगेको छ । जयवागेश्वरीको ठीक अघि तलेजु भवानीको मन्दिर स्थापना गरिएको छ । यो उपत्यकाको पुरानो राजधानी मानिन्छ । स्थानीयवासी मुनिकार ‘गोल’ भनिने जयवागेश्वरी उपत्यकाकै पहिलो बस्ती भएको बताउँछन् । यो बस्तीमा नौथरी जात, नौ पोखरी, नौ पाटी, नौ ढोका लगायत संरचना रहेकामा यो पनि लोपोन्मुखको अवस्थामा पुगेको छ । गोपाल र किराँत शासनकालको राजधानी यो ठाउँ थियो । लिच्छविकालको राजधानी यहीँबाट शुरु भएर पछि हाँडीगाउँमा सरेको हो । मल्लकालमा हाँडीगाउँबाट हनुमानढोकामा राजधानी सारिएको इतिहासविद्हरुको भनाई छ । ऐतिहासिक एवं सांस्कृतिक रुपले महत्वपूर्ण क्षेत्र भएपनि यहाँका सम्पदाको संरक्षण हुन नसकेको स्थानीयवासीको गुनासो छ ।
ललितपुर नगर प्रहरीको कामबाट सबै खुसी पाटन। ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले महानगर प्रहरीको कामबाट सबै नगरवासी खुसी भएको बताएका छन्। ललितपुर महानगरबाट सेवा प्रवाहका सन्दर्भमा नगर प्रहरीले गरेका कामको श्रव्यदृष्य सामग्री प्रदर्शनीमा प्रमुख महर्जनले २६ महिना अगाडि महानगरको प्रहरी प्रमुखमा सीताराम हाछेंथु नियुक्तभएपछि महानगरमा अन्य नगर र महानगरलाई सिकाउने गरी उदाहरणीय काम भएको बताएका हुन्। “नगर प्रहरीको कामबाट सबै खुसी छन्, नगरप्रहरीमार्फत हामीले विधि पुर्‍याएर काम गरेका छौँ”, उनले भने। उनले नगरप्रहरीको कामले महानगरको सेवा प्रवाहलाई अत्यन्तै सहज बनाएको बताउदै प्रहरीलाई सुरक्षाका थप विधि अपनाएर काम गर्न आग्रह समेत गरे। महानगर उपप्रमुख मञ्जली शाक्यले नगरप्रहरीका कामले नगरवासीमा सकारात्मक धारणा विकास गरेको बताइन्। उपप्रमुख शाक्यले भनिन्, “नगर प्रहरीले काम गर्दा महानगरको योजनाबमोजिम अगाडि बढ्नु हुनेछ भन्ने अपेक्षा छ। नगरप्रहरीका कामलाई थप व्यवस्थित गर्न आवश्यक नीतिगत काम गर्न तयार छौँ।” यही पुस २ गते १०४आँै स्थापना दिवस मनाएको ललितपुर महागरले यस वर्षका लागि ‘ललितपुरको समृद्धि र सुशासनको आधार, सम्पदा, संस्कृतिसहितको स्मार्ट सेवा र पूर्वाधार’ नारालाई केन्द्रमा राखेर सेवा प्रदान गरिरहेको छ। प्रदर्शनीमा सार्वजनिक पाटीपौवाको सरसफाइ, सडकका छेउछाउमा राखिएका सामग्री हटाउने, भूइँमा लत्रिएका र अव्यवस्थित तारलाई व्यवस्थापन गर्ने, जथाभावी पार्किङ गरिएका सवारीसाधन हटाउने र फुटपाथ अतिक्रमण गरी व्यापार गर्न रोक्नेलगायत नगरप्रहरीले गरेका सकारात्मक कामलाई समेटिएको थियो। नगरप्रहरीले जनचेतना जगाउनका लागि चेतनामूलक सन्देश प्रवाह गर्ने, नक्सापास नगरी बनाइएका अव्यवस्थित संरचना हटाउने, जथाभावी राखिएका होर्डिङ बोर्ड हटाउनेलगायतका कार्य गर्दै आइरहेको छ। हाल ललितपुर महानगरमा ७५ जना नगर प्रहरी कार्यरत छन्।
बालविवाह रोक्न मर्चवारीमा बिमा कार्यक्रम भैरहवा। विवाहका लागि बालिकाको उमेर २० वर्ष हुनुपर्ने कानूनी व्यवस्था भए पनि रुपन्देहीमा अझै बालविवाह हुने गरेको छ । स्थानीय सरकार आएसँगै यो क्रम घटाउन पहल गरे पनि पूर्ण रुपमा बालविवाह रोकिएको छ । रुपन्देहीको मर्चवारी गाँउपालिकाले पनि बालविवाह तथा लैगिक हिंसा अन्त्य गर्न र संस्थागत सुत्केरी दरमा वृद्धि गरी बालिकाहरूको स्वास्थ्य अवस्थामा सुधार ल्याउन बालिका बिमा कार्यक्रम लागु गरेको छ । विपन्न परिवारहरुको बसोबास रहेकाले शिक्षा दिनसमेत नसक्ने र छोरीलाई चाँडै विवाह गर्ने प्रचलन रहेको छ । अभिभावकलाई लोभमा पारेर छोरीप्रतिको नकरात्मक धारणा परिवर्तन गर्ने उद्देश्यले बालिका बिमा कार्यक्रम शुरु गरिएको गाउँपालिकाको दाबी छ । बालिकाहरुको आर्थिक सामाजिक सुरक्षाको लागि छोरी जन्मनेवित्तिकै बिमा गराउन प्रोत्साहन गर्ने उद्देश्यले गाउँपलिका अध्यक्ष बालिका बिमा योजना कार्यक्रम लागु भई कार्यान्वयनको चरणमा छ । गाउँपालिकाले यसै आर्थिक वर्षदेखि सुरु गरेको अभियानमा हालसम्म ९१ जनाले सहभागिता जनाएका छन । ममर्चवारी गाउँपलिका अध्यक्ष गयाप्रसाद बरईले चालु आर्थिक वर्ष २०० देखि २५० जनालाई यस अभियानमा जोड्ने लक्ष्य लिएको बताए । यसका लागि ५० लाख बजेट विनियोजन गरिएको अध्यक्ष बरईले बताए ।
करार कर्मचारीको म्याद थप गर्ने विषयले विवाद बढ्दा अनिश्चितकालका लागि अस्पताल बन्द बारा। करार सेवाका स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई निकाल्न सिम्रौनगढ नगरपालिकाले नगर अस्पतालको ओपिडी बाहेक अन्य सेवा अनिश्चितकालको लागि बन्द गराएपछि कर्मचारीले गरेको ताबन्दीका कारण अस्पतालको सबै सेवा बन्द भएको छ । नगरपालिकामा रहेको एउटामात्र सुविधासम्पन्न अस्पतालको सेवा ठप्प बनेपछि स्थानीय सेवाग्राही प्रभावित बनेका छन् । नगरपालिका स्वास्थ्य शाखाको आदेशमा अस्पतालको ओपिडिबाहेक अन्य सेवा अनिश्चितकालको लागि बन्द रहने सूचना गरिएको थियो। स्वास्थ्य शाखा प्रमुख विजय ठाकुरले सोमबार सूचना निकालेर आदेशअनुसार ओपीडी (बहिरंग) बाहेकका सबै सेवा अर्को सूचना नहुन्जेलसम्मका लागि बन्द गरिएको जानकारी दिए। आन्दोलनरत करारका कर्मचारीले स्वास्थ्य शाखाको निर्णय विरुद्ध ओपीडि संचालनमा पनि रोक लगाएपछि अस्पतालको सबै सेवा बन्द भएको छ। करार कर्मचारीको अवधि थप गर्ने विषयमा लामो समयदेखि विवाद झेल्दै आएको नगरपालिकाले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीलाई निकाल्न अस्पतालको सेवा नै बन्द गरेको कर्मचारीहरुले बताएका छन्। उनीहरुले आफूहरुलाई निकाल्न भएको षडयन्त्रको विरोधमा ओपिडी सेवा पनि बन्द गर्नुपरेको बताएका छन्। स्वास्थ्यकर्मी र कर्मचारीसमेत गरी कुल २८ जना कार्यरत अस्पतालबाट नगरपालिकाले ३ जनाको मात्रै करार अवधि थप गर्ने निर्णय गत असोजमा नै गरेको थियो। कर्मचारीहरु काममा आउन नछोडेपछि अस्पताल नै बन्द गरेर कर्मचारीहरुलाई निकाल्न खोजिएको करार सेवाका अहेब अयुब अन्सारीले बताए। उनका अनुसार करारका अधिकांश कर्मचारीहरु कार्यरत इमरजेन्सी सेवा बन्द गरेर नगरपालिकाले जागिरबाट हटाउने जाल रचेको हो। आन्दोलनरत कर्मचारीहरुले सोमवार साझँबाट ओपीडी (बहिरंग) सेवा पनि बन्द गराएपछि नगरअस्पतालको सेवा पूर्णरुपमा ठप्प बनेको छ।
अचार बिक्रीबाट आत्मनिर्भर बन्दै बुद्धभूमिका महिला कपिलवस्तु । कपिलवस्तु बुद्धभूमि नगरपालिका–२ का महिलाले सामूहिक अचार उद्योग सञ्चालन गरेर मनग्य आम्दानी गर्न सफल भएका छन् । सात वर्ष अगाडि बुद्धवाटिका अचार उद्योग खोलेर जीविकोपार्जनमा लागेका यहाँका महिलाले मासिक रु ५० हजारको कारोबार गर्दै आएका छन् । अधिकतम वार्षिक रु १५ लाखसम्म आम्दानी गरेको उद्योगकी अध्यक्ष पवित्रा भट्टराईले बताउनुभयो । स्थानीयस्तरमै अचार उत्पादन गरी यसलाई व्यवसायका रुपमा अगाडि बढाउन छ महिला सामूहिकरुपमा लागेका हुन् । घरेलु तथा साना उद्योग कार्यालय तौलिहवाले प्रदान गरेको तालिममार्फत अचार बनाउन सिकेको उद्योगकी अध्यक्ष भट्टराईले बताइन् “हातमा सीप नहुँदा घरमै बसेर दिन कटाउन बाध्य थियौँ । घरेलु कार्यालयले अचार बनाउने तालिम दियो । यहीँ सीपलाई व्यवसायमा जोडेका हौँ”, उनले भभनिन् । आफूसहित छ महिलाको सक्रियतामा उद्योग सञ्चालन भएको उनले बताइन् । वाार्षिकरुपमा अचार बिक्री गरेर घर खर्चा चलाउँदै आएका यी महिलालाई बालबच्चाको पढाइदेखि आफूलाई आवश्यक परेका सामान किन्न सहज भएको छ । “आफ्नो कमाइ नहुँदा घरका श्रीमान्सँग आश्रित हुनुपर्ने थियो । अहिले त्यो बाध्यता हटेको छ”, भट्टराई भन्छिन् । घरको काम सकेर रहेको फुर्सदिलो समयमा अचार बनाउने गरेको उनले जनाइन् । बुद्धवाटिका उद्योगमा उत्पादित अचारको माग स्थानीय बजारमा मात्र नभएर अर्घाखाँची, प्युठान, दाङ, नेपालगञ्ज, बुटवललगायत सहरमा हुने गरेको छ । जिल्लाभित्र र बाहिर लाग्ने औद्योगिक मेलामा समेत अचारको माग बढ्दोे छ । अचार उद्योगबाट वार्षिक १० हजार किलोग्रामसम्म उत्पादन हुने गरेको छ । उद्योगमा विभिन्न ब्राण्डका अचार उत्पादन हुने गरेको छ । उद्योगमा आँप, अमला, लसुन, अदुवा, मुला, खुर्सानी, अकबरे–खुर्सानी, अकबरे–तामा, मिक्स, कागती दाना, मेथी, करेलालगायतका विभिन्न स्वादका अचार छन् । उद्योगका लागि आवश्यक अकबरे खुर्सानी, कागती, बासको तामा, टिमुर, लसुन, करेलालगायतका सामान बुटवलबाट आउने गरेको उद्योगले जनाएको छ । सुरुआती चरणमा अचारले राम्रो बजार पाउन नसके पनि आजभोलि बजारको खासै समस्या नहुने सञ्चालक मीना बेल्वासेको भनाइ छ । अचार बनाउन धेरै लगानी लगाउन नपर्ने बेल्वासेले बताइन्। आफ्नै गाउँघरमा उत्पादन भएका अचार प्रयोग गर्न उहाँको सुझाव छ । “हामीले कुनै केमिकल प्रयोग गर्दैनौँ, हामीले उत्पादन गर्ने अचार राम्रो हुन्छ”, उनले भनिन्। ग्राहकको मुख्य रोजाइ मिक्स अचार हुने गरेको छ । चार सय ग्रामसम्मको मिक्स अचारलाई रु एक सयसम्म पर्ने गरेको छ । सबैभन्दा बढी मूल्यको अचार अकबरे खुर्सानीको छ । चार सय ग्रामसम्मको अकबरे खुर्सानीको मूल्य रु दुई सय ५० सम्म पर्छ । उद्योगमा उत्पादित अचारको व्यवसायलाई थप फष्टाउने योजना रहेको अध्यक्ष भट्टराईले सुनाइन् । महिला मात्र संलग्न रहेको कारण बजारलाई व्यवस्थित पार्न नसकिएको उहाँले बताउनुभयो । आगामी नयाँ वर्षदेखि बाँकेको परान्चु अचार उद्योगसँग सहकार्य गरी व्यवसायलाई थप विस्तार गर्ने योजना रहेको उनको भनाइ छ । “उत्पादित अचारलाई वनारससम्म लैजान सकेका छैनौँ । महिला मात्र भएको कारण बजारको समस्या छ । बाँकेको परान्चु अचार उद्योगसँग समन्वय गरिरहेका छौँ, अब त्यहीँ उद्योगले अचार लैजाने आशामा छौँ, उनले भभनिन् । महिलाले गरेको सामूहिक उद्यमलाई बुद्धभूमि नगरपालिकाले समेत सहयोग गर्दै आएको छ । नगर प्रमुख केशवकुमार श्रेष्ठले अचार उद्योगलाई वार्षिकरुपमा अचार बनाउने तालिमका लागि बजेट छुट्याएर सहकार्य गरेको बताए । “सिधै बजेट दिएका छैनौँ, तालिममार्फत सहकार्य गरिरहेका छौँ”, उनले भने । रासस
रोग लागेर केराको बोट सुक्न थालेपछि निजगढका किसान चिन्तित् बारा। केराको बोट सुक्ने रोग लागेपछि निजगढ नगरपालिकाको सिंगौलका केरा खेती गर्ने कृषकहरु चिन्तित् बनेका छन्। केराको पात पहेंलो हुने बोटसमेत सुकेर मर्न थालेपछि स्थानीय किसानहरुमा चिन्ता बढ्न थालेको हो। रोग लागेर बोट सुक्न थालेपछि भर्खर पसाएको केराको काइँयोमा समेत साना कोसा लाग्ने र नसप्रिने समस्या देखिएको किसानहरुले बताएका छन्। यो रोग पहिलेदेखि केरा खेती गरिएको जमिनमा कम देखिएको भए पनि नयाँ खेतीमा भने प्रकोपको रुपमा देखा परेको किसानहरुले बताएका छन्। रोग लागेर केरामा क्षति भए पनि लगानीसमेत नउठ्ने देखेर किसानहरु चिन्तित् बनेका छन्। परमपरागत खेती गर्दै आएका सिंगौलका अधिकांस किसानहरु केही वर्षदेखि केरा खेतीतर्फ आकर्षित बनेका थिए। सिंगौलमा हाल ८५ प्रतिशत किसानले केरा खेती गर्दै आएका छन्। केही किसानहरुले भने अर्का जमिन भाडामा लिएर पनि केरा खेती गर्दै आएका छन्। उनीहरुले प्रतिकठ्ठा ५ देखि ७ हजारसम्म बार्षिक रकम तिरेर खेती गर्दैआएको स्थानीय रामबाबु बुढाथोकीले बताए। केरा बिक्रीबाट सिंगौलमा मात्रै बार्षिक २ करोडभन्दा बढी रुपैयाँ भित्रिने गरेको तर रोगले मर्न थालेपछि किसानलाई ठूलो क्षति हुने देखिएको अर्का स्थानीय किसान कमल गुरागाईंले बताए। उनका अनुसार निजगढ नगरपालिका कार्यालयमा केरा विशेषज्ञ नहुँदा किसानले थप समस्या बेहोर्नुपरेको परेको छ। कृषि ज्ञान केन्द्र निजगढले निजगढ नगरपालिकाको निजगढ र सिंगौलको केही भागमा केरा पकेट क्षेत्र घोषणा गरेको भएपनि कार्यालयले केरा किसानलाई खासै सहयोग गर्न नसकेको किसानहरुले गुनासो गर्दै आएका छन्।
बाँकेमा दादुराको सङ्क्रमण कायमै राँझा। बाँकेमा दादुरा रोगको सङ्क्रमण कायमै रहेको छ। अहिलेसम्म तीन सय नौ बालबालिकामा दादुरा रोग सङ्क्रमण पुष्टि भएको छ। जिल्ला जनस्वास्थ्य कार्यालयकाका खोप स्रोत व्यक्ति नरेश श्रेष्ठका अनुसार, दादुरा सङ्क्रमणबाट सबैभन्दा बढी नेपालगञ्जका बालबालिका प्रभावित भएका छन्। दादुराको सङ्क्रमणबाट अहिलेसम्म नेपालगञ्जमा एकजनाको मृत्यु भइसकेको छ। यहाँ अहिलेसम्म दुई सय १३ सङ्क्रमित फेला परेका छन्। हालसम्म नरैनापुरमा ४१, खजुरा गाउँपालिकामा २१, डुडुवामा १८, कोहलपुरमा नौ र राप्ती सोनारीमा सात जनालाई दादुरा सङ्क्रमण पुष्टि भएको छ। यीमध्ये १० जनाको उपचार भइरहेको छ । नेपालगञ्जका एक सङ्क्रमित अस्पताल भर्ना भएका छन्। यसैगरी राप्ती सोनारीका सात र कोहलपुरका दुई बालबालिका ‘होम आइसोलेशन’ मा रहेका श्रेष्ठले जानकारी दिए। दिनहुँ सङ्क्रमण फैलिरहँदा बालबालिका निको हुने क्रम पनि चलिरहेको छ। अहिलेसम्म बाँकेमा दुई सय ९८ जना निको भइसकेका छन्। नेपालगञ्जका दुई सय ११, नरैनापुरका ४१, खजुराका २१, डुडुवाका १८ र कोहलपुरका सात जना बालबालिका निको भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ। नेपालगञ्जमा सङ्क्रमण केही कम भए पनि ग्रामीण क्षेत्रतिर बढिरहेकोले दादुरा सङ्क्रमण रोक्न ठाउँठाउँमा खोप कार्यक्रम सञ्चालन भइरहेको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले बताए।
घोराहीमा जलाशयका माध्यमबाट खेतबारी सिञ्चित गरिँदै दाङ । सात वर्षको अवधिमा घोराहीका विभिन्न वडामा ४३ जलाशय निर्माण गरिएका छन् । यी जलाशयले घोराहीको विकास र समृद्धिका लागि सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ । जलाशयका माध्यमबाट पर्यावरण जोगाउनुका साथै कृषि क्षेत्रको विकासका लागि खेतबारीमा सिँचाइ सुविधा पुर्‍याउने उद्देश्य छ । यस अवधिमा घोराही उपमहानगरसँगै प्रदेश र सङ्घीय सरकारको करिब रु २० करोड २१ लाखको लागतमा करिब ९० बिघा क्षेत्रफलमा जलाशय निर्माण गरिएका छन् । बढ्दो जनसङ्ख्यासँगै पानीको मुहान सुक्दै जान थालेकाले कृत्रिम जलाशयका माध्यमबाट पानी संरक्षणमा उपमहानगरले चालेको यो कदमलाई सकारात्मक प्रयासका रुपमा लिइएको छ । घोराही उपमहानगरका १९ वडामध्ये १४ वडामा ३४ जलाशय निर्माण गरिएका छन् । वडागत रुपमा सबैभन्दा धेरै जलाशय वडा नं १७ मा निर्माण गरिएका छन् । उक्त वडामा आठ जलाशय बनेका छन् । वडा नं १ मा चरिङ्गे, भोटे, चेपे, गवरे र चुरे जलाशयमा जलाशय बनाइएका छन् । त्यसैगरी वडा नं २ मा चेपे, बलरामपुर र शहरेमा जलाशय निर्माण गरिएको छ् । चेपे जलाशय सुुर्केडाँगी, बाहुुनटारी, राइटारीलगायतका ठाउँका लागि सिँचाइसँगै जल विहारका लागि आकर्षक गन्तव्यका रुपमा विकास हुँदै गएको स्थानीय महेश चौधरी बताउँछन्। यस्तै वडा नं ४ मा अमारे, चरीखुुट्टे, छरछरे, रोहिणी र सुकी दह, वडा नंं ५ मा धारापानी र भमकी सिमसार जलाशय, वडा नं ६ मा लख्वारे, पिपल–छहारी, फचकपुर तल्लो र फचकपुुर माथिल्लो जलाशय, वडा नं ८ मा लरैना जलाशय, वडा नं १० मा ठाँटी गाउँ जलाशय र वडा नं ११ मा सिरुगैरा जलाशय निर्माण गरिएको घोराही उपमहानगरपालिकाले जनाएको छ । त्यसैगरी वडा नं १२ मा जङ्गखोली, वनबाटिका र साततले, वडा नं १३ मा ज्यामिरे र बाह्रकुने, वडा नं १६ मा गङ्गटीया तल्लो र माथिल्लो गरी दुई जलाशय, वडा नं १७ मा कटही, ढिकपुर, आरोग्य, कर्जाही, डबरी, गुलरिया, ओखरा, कमलपोखरी गरी आठ तथा वडा नं १८ मा अम्बापुर, गिठेपानी तल्लो जलाशय, गिठेपानी उपल्लो जलाशय, सुँगुरे, रानीजरुवा र काभ्रेखोला जलाशय निर्माण गरिएका छन् । जलाशय निर्माणपछि अहिले कृषि, माछापालन, पर्यटनजस्ता व्यवसायमा टेवा पुग्नुका साथै स्थानीयका लागि रोजीरोटीको माध्यम बनेपछि उपमहानगरले जलाशय निर्माणलाई पहिलो प्राथमिकतामा राखेको हो । सुरुमा यहाँका केही क्षेत्रमा जलाशय निर्माणपछि स्थानीइको दैनिकीमा समेत परिर्वतन तथा रोजगारी सिर्जना भएपछि उपमहानगरले जलाशय निर्माणमा लगानी बढाइएको उपमहानगरकाले जनाएको छ । उपमहानगरभित्र पालिका र वडाको आफ्नै स्रोत व्यवस्थापनबाट र केही प्रदेश सरकार, केन्द्र सरकारसँगको समन्वयमा बजेट व्यवस्थापन गरी कतै नयाँ जलाशय निर्माण र कुनै ठाउँमा साना पोखरीका रुपमा रहेका जलाशयलाई विस्तार गरिएको हो । निर्माण गरिएका जलाशयको बहुुउपयोगितासँगै दिगो व्यवस्थापनका लागि थप बजेट आवश्यक पर्ने घोराही उपमहानगरपालिकाका पूर्वाधार महाशाखा प्रमुख इन्जिनियर युवराज पौडेल बताउँछन् । “बनिसकेका जलाशयको स्तरवृद्धि र थप बन्न लागेको जलाशयका लागि पालिकास्तर, वडास्तर तथा प्रदेश र सङ्घबाट पनि समन्वय गरी बजेट व्यवस्थापनको काम भएको छ, केही गर्ने तयारी छ”, उनले भने, “कृत्रिम जलाशयले पानीको संरक्षणसँगै सिँचाइ र पर्यटन प्रवद्र्धनको काम भइहेको छ ।” उपमहानगरले सुरुआती वर्षमा १२ जलाशय निर्माण गरेको थियो । त्यसयता थप ३१ जलाशय निर्माण गरेको पौडेलले बताए । जलाशय निर्माणसँगै स्थानीयले सिँचाइ सुविधा लिएर कृषि पेसाबाट पर्याप्त आम्दानी लिन थालेपछि उत्साहित भएका छन् । उपमहानगरपालिकाले कृषि र पानीको स्रोत बढाउन यो अभियानले सुख्खा हुँदै गएको जमिनमा सिँचाइसँगै कृषिमा लाग्न प्रेरित गर्ने काम गरेको घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरी बताउँछन्। जलाशयमा जम्मा भएको पानीको सहयोगबाट स्थानीयवासीले सिँचाइ, माछापालन, तरकारी खेती तथा फलफूल खेती गरिरहेका छन् ।रासस
त्रिवेणीमा १५ करोडको पुल अलपत्र सुर्खेत। जगदुल्ला जलविद्युत कम्पनी लिमिटेडले जाजरकोट डोल्पा र रुकुमको बीचमा रहेको त्रिबेणी स्थित भेरी नदीमा निर्माण गर्न लागेको पुल साढे दुइ वर्ष देखि अलपत्र परेको छ। क्याराभान कन्ट्रक्सनले काम नै सुरु नगरी अर्को स्थानीय रेट्रो ट्रेक कन्ट्रक्सनलाई ठेक्का बेचेपछि पुल निर्माण कार्य अलपत्र परेको हो । भेरी करिडोरको बीचमा रहेको यो पुल समयमा निर्माण नहुँदा तल्लो डोल्पाका साथै जुम्ला जोड्ने सडक समेत निर्माण हुन मुस्क्लि भएको छ। भेरी नदीमा एक सय मिटर लामो पक्की पुल साढे दुई वर्षदेखि काम नगर्दा समस्य हुँदै आएको छ। तीन जिल्लाको संगम स्थल रहेको त्रिवेणीमा अहिले ठेक्का खरिद गरेको रेट्रो ट्रेक कन्ट्रक्सनले समेत काम नगर्दा पुल निर्माण कार्य पछि धकेलिएको छ। १५ करोड रुपैयाँमा उक्त पुल निर्माण गर्ने भन्दै कम्पनीले साढे दुइ वर्ष अघि ठेक्का खोलेको थियो। क्याराभान कन्ट्रक्सनबाट १४ करोड १७ लाखमा कामको जिम्मा लिएको रेट्रो ट्रेक कन्ट्रक्सनले कहिले बर्खा र कहिले जग्गा विवादको कारण देखाउँदै काममा ढिला गरेपछि दैनिक समस्य देखिएको छ। निर्माणको जिम्मा पाएका कन्ट्रक्सनहरूले विभिन्न बहानामा पुल निर्माणमा ढिलासुस्ती गरेपछि १०६ मेघावाटको जगदुल्ला हाइड्रोपावर निर्माण कार्यसमेत मा समेत बाधा पुग्ने देखिएको छ। हाइड्रोपावरसँग मुआब्जाका विषयमा बारम्बार कुरा गर्दा पनि नपाएको गुनासो जग्गाधनीहरूको छ। हाइड्रोपावर कम्पनीले हजारौँ टन वजन भएका निर्माण सामाग्रीहरू आयोजनास्थलसम्म लैजान भन्दै २०७७ साउनमा टेन्डर खुलाएको थियो। यता रेट्रो ट्रेक कन्ट्रक्सनका प्रोपराइटर बादल बुढाले पुलको बेस बनाउने तथा सामाग्रीहरू जम्मा गर्ने काम सुरु भए पनि जग्गा विवादले समस्या आइरहेको बताए। टेन्डर हात पारेको केही समयमै प्रोपराइटर चन्द्र थकालीले तत्काल काम सुरु गर्ने भन्दै आयोजनाबाट ७२ लाख पेस्की रकमसमेत लिइसकेका छन्। पुल समयमै नबन्दा आयोजनाको निर्माण कार्य नै प्रभावित भएको भन्दै डोल्पाका सरोकारवाला निकायले चिन्ता व्यक्त गरेका छन्। जगदुल्ला हाइड्रोपावर कम्पनीले पुल निर्माणमा ढिलासुस्ती गरे कारबाही गर्ने चेतावनी दिएको तीन वर्ष पुग्न लाग्दा पनि कुनै कारबाही गरेको छैन। यता जगदुल्ला हाइड्रोपावर कम्पनीका आयोजना प्रमुख सञ्जय सापकोटाले भने पुल निर्माणमा तदारुकता नदेखाए कारबाही गर्ने बताए। ठाउँ , ठाउँमा ठेक्का लिदै अलपत्र पार्दै आएका थकालीले यो पुलको काम समेत अर्कोलाई बिक्री गरेर समस्यामा पारेका छन् । भेरी करिडोरका अधिकांश कामहरु लिएका थकाली सधै शक्ति केन्द्र धाउने र काम नगर्ने निर्माण व्यवसायीमा पर्दछन् । उनको नेकपा  एकीकृत समाजबादी० र नेकपा माओवादी केन्द्रका केन्द्रीय स्तरका नेतासँग हिमचिम राम्रो रहेको छ । ठेक्काको म्याद थप्दा पनि शक्ति केन्द्रसँग गएर धनसुनले काम हुने गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा समेत उनले कर्णालीका केन्द्रीय नेतालाई आधा करोड चन्दा दिएका थिए ।
जनक शिक्षामा दिनभर विद्यार्थीको धर्ना, गेट तोडफोड काठमाडौं । विद्यालयको पाठ्यपुस्तक छपाइ गर्दै आएको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा आज नेकपा (एकीकृत समाजवादी) को विद्यार्थी सङ्गठन अनेरास्ववियुले दिनभर धर्ना दिएर घेराउ गरेको छ । जनक शिक्षालाई भ्रष्टाचारको अखडा बनाएको, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कमिसनका खेलमा लागेर पुस २९ गते कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक निजी छापाखानालाई छाप्न दिने निर्णयको गरेको भन्दै त्यसको विरोधमा धर्ना दिएर घेराउ गरेको अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले बताए । शिक्षा मन्त्रालयले निजी छापाखानालाई पुस्तक छाप्न दिन गरेको निर्णय तत्काल फिर्ता लिनुपर्ने, जनक शिक्षालाई भ्रष्टाचार मुक्त बनाउनुपर्ने, भ्रष्टाचार गर्नेलाई कारबाही गर्नु पर्नेलगायतको माग राखेर धर्ना तथा घेराऊ गरेको उनले बताए । जनक शिक्षालाई भ्रष्टाचारमुक्त बनाउनुपर्ने र विद्यालय तहको सबै पाठ्यपुस्तक केन्द्रलाई नै छाप्न दिनुपर्ने माग राख्दै धर्नामा उत्रिएका थिए । विद्यार्थीले विरोधका क्रममा जनक शिक्षाको गेट तोडफोड गर्न खोज्दा क्षति पुगेको केन्द्रका प्रवक्ता चित्रराज आचार्यले बताए ।
एसइई नतिजा सुधार गर्न शिक्षण सहजकर्ता विद्यालयमा काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको एसइई नतिजा सुधार गर्न आजदेखि शिक्षण सहजकर्तालाई काममा खटाएको छ । एसइई नतिजा सुधार गर्नकै लागि कामपाले अनिवार्य पाँच विषयका लागि १५ जना विषयगत शिक्षण सहजकर्ता नियुक्त गरी काममा पठाएको हो । यसका लागि कामपाले दुई हप्ताअघि विज्ञापन माग गरेको थियो । उक्त विज्ञापनको आधारमा दरखास्त परेकामध्येबाट कामपाले १५ जनालाई सहजकर्ताको रूपमा नियुक्त गरेको कामपाको शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले जानकारी दिए । आवश्यकता सङ्ख्या २५ रहे पनि मागअनुसार योग्यता पुगेका उम्मेदवार १५ जना मात्र रहेकाले मङ्गलबार सबै प्रक्रिया पूरा गरी आजदेखि काममा खटाइएको प्रमुख सुवेदीले जानकारी दिए । उनले भने, “यस वर्ष एसइईमा सहभागी विद्यार्थीको सिकाइमा सहयोग पुगोस् भन्ने उद्देश्यले कामपामा सञ्चालित ५९ माध्यमिक तहका विद्यालयमा अनिवार्य पाँच विषयका लागि अनुभवी विज्ञ सहजकर्ता नियुक्त गरिएको हो । सहजकर्ता मात्रै होइन शिक्षण सहयोगी पनि कामपाले नियुक्त गर्न लागेको छ । शिक्षण सहजकर्ताका लागि विश्वविद्यालयका प्राध्यापक, मावि शिक्षक वा अधिकृतस्तरबाट अनिवार्य अवकास भएका सम्बन्धित विषयका विज्ञ वा विभिन्न सङ्घसंस्थामा काम गरेको कम्तीमा १० वर्षको अनुभव भएका व्यक्ति रहेका छन् । अनिवार्य विषय गणित, विज्ञान, अङ्ग्रेजी, सामाजिक र नेपाली विषय अध्यापन गराउन प्रत्येक विषयका लागि पाँचरपाँच जना सहजकर्ता आवश्यक रहने कामपाले जनाएको छ । दुई महिनासम्मका लागि नियुक्त गर्न लागिएको शिक्षण सहजकर्ताका लागि कामपाले मासिक रु ३७ हजार पाँच सय पारिश्रमिक उपलब्ध गराउने छ । त्यसैगरी शिक्षण सहयोगीका लागि गणित विषयका ६० र विज्ञान विषयका ६० जना आवश्यकता रहेको जनाइएको छ । सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण गरी कम्तीमा दुई वर्ष शिक्षण अनुभव भएको व्यक्ति हुनुपर्नेछ । सहयोगीका लागि पारिश्रमिक रु १५ हजार तोकिएको छ । हाल कामपामा ८९ सामुदायिक विद्यालय छन् । त्यसमा ५९ माध्यमिक विद्यालय र ३० प्राथमिक विद्यालय रहेका छन् । ती विद्यालयमा ५२ हजार विद्यार्थीले अध्ययन गर्दछन् त्यसैगरी पाँच सय ४० निजी विद्यालयमा एक लाख ५० हजार विद्यार्थी अध्ययनरत रहेका छन् । यस वर्ष कामपाको सार्वजनिक विद्यालयबाट चार हजार विद्यार्थी सहभागी हुने भएका छन् । यस वर्षको प्रभावकारिता हेरी आगामी वर्षहरूमा पनि यस कार्यक्रमलाई निरन्तरता दिने कामपाको तयारी रहेको पनि प्रमुख सुवेदीले जानकारी दिए ।
कालीकोटबाट १९ सुत्केरी महिलाको हवाई उद्धार मान्म । कालीकोटमा दुई वर्षमा १९ जना सुत्केरी तथा गर्भवती महिलाको हेलिकप्टरमार्फत हवाई उद्धार गरिएको छ । कालीकोटमा आर्थिक वर्ष २०७८/८९ मा १३ जना, चालु आर्थिक वर्षको साउनदेखि माघसम्म छ जना गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार भएको हो । दुर्गम क्षेत्रका गर्भवती महिला र नवजात शिशु सुरक्षाका लागि केन्द्रित राष्ट्रपति महिला उत्थान कार्यक्रम प्रभावकारी देखिएमा प्रभावकारी देखिएको छ । दुई वर्षयता १९ जनाको ज्यान जोखिममा परेका महिलाको हवाई उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय कालीकोटका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी सरोज अधिकारीले बताए । “हवाई उद्धार गरिएका १९ जनामध्ये १३ जना २० वर्षमुनिका रहेका छन्”, उनले भने, “गर्भवती र सुत्केरीले प्रश्रव अवस्थाका कारण ज्यान गुमाउनु परेकामा हाल त्यो सङ्ख्या घटेको स्वास्थ्यको तथ्याङ्कमा उल्लेख छ ।” स्वास्थ्य संस्थाको सिफारिस पत्रका आधारमा प्रमुख जिल्ला अधिकारीको समन्वयमा तत्काल हवाई उद्धारका लागि सूचना दिने व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले जानकारी दिए । “महिलाको हवाई उद्धार गर्नका लागि एक जनाको सरदर लाग्ने रु दुई लाख खर्च सरकारले व्यहोर्दै आएको छ”, उनले भने, “राष्ट्रपति उत्थान कार्यक्रम समन्वय एकाइले उद्धारका लागि समन्वयकारी भूमिका निर्वाह गर्दै आएकाले दुर्गमका महिलाको ज्यान जोगिँदै आएको छ ।” विगतमा हवाई उद्धार नहुँदा कैयौँले बाटोमा ज्यान गुमाउनुपर्ने अवस्था रहेको र अहिले सुत्केरी तथा गर्भवती महिलालाई हवाई उद्धार गर्दा नवजात शिशुको मृत्युदर र मातृमृत्यु दर पनि घटेको जिल्ला स्वास्थ्य कार्यालय कालीकोटका सूचना अधिकारी कटक महतले बताए ।
जाजरकोटमा ससुरालीबाट फर्किंदै गर्दा भिरबाट लडेर एक जनाको मृत्यु सुर्खेत। जाजरकोटमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। कुशे गाउँपालिका वडा नम्बर ४ तप्तीका अन्दाजी ३१ वर्षीय अम्मरबहादुर शाहीको ससुरालीबाट फर्किंदै गर्दा भिरबाट लडेर मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। उनी भिरबाट करिब २०० मिटर तल खसेका थिए।
महाशिवरात्रिमा पशुपतिमा लिङ्ग पुराण महायज्ञ गरिने काठमाडौं । महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्र विकास कोषले फागुन १ गतेदेखि लिङ्ग पुराण महायज्ञ आयोजना गर्ने भएको छ । लिङ्ग पुराणको नेपाली अनुवादसहित प्रकाशन गरेको कोषले महाशिवरात्रिका अवसरमा पहिलोपटक अनुष्ठान गर्न लागेको हो । नेपाली अनुवादसहितको लिङ्ग पुराण महाशिवरात्रिकै अवसरमा जगन्नाथपुरीस्थित गोवद्र्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वतीले विमोचन गर्ने भएका छन् । विमोचनपछि पशुपतिनाथ मूल मन्दिरको पश्चिमढोकाअघि स्थापना गरिएको कोषको बिक्री कक्षबाट पनि पुराणको पुस्तकको बिक्री गरिने जनाइएको छ । कोषले यसअघि शिव पुराण पनि नेपाली अनुवादसहित प्रकाशन गरिसकेको छ । कोषले प्रकाशन गरेका सबै पुस्तक पश्चिमढोका अघिको बिक्री कक्षमा पाइने संस्कृति महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले जानकारी दिए । यस वर्षको महाशिवरात्रि पर्व फागुन ६ गते परेको छ । कोषले महाशिवरात्रिको तयारीका काम सुरु गरिसकेको जनाइएको छ ।
पोखरामा तार भूमिगतको काम कहिले सुरु होला ? पोखरा । पोखरामा विद्युतीय तार भूमिगत गर्न भारतीय टाटा प्रोजेक्टस कम्पनीले ठेक्का सम्झौता गरेको एक वर्ष भएको छ । दुईवर्षमा सक्ने गरी निर्माण जिम्मा लिएकामा ठेक्का अवधि छोटिँदै जाँदा तार बिछ्याउने काम अझै सुरु हुन सकेको छैन । नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाका प्रमुख आनन्द सुवेदीले अर्को महिनादेखि तार भूमिगत गरिने बताए । “विद्युत् लाइनको इन्जिनियरिङ डिजाइन, उपकरण खरिदलगायतको काम भइरहेको छ, भौतिकतर्फको काम फागुन अन्तिमतिर सुरु हुन्छ”, उनले भने । पोखरामा नै आयोजनाको कार्यालय भएकाले कामले तीव्रता पाउने उनको भनाइ छ ।तारलगायत महत्वपूर्ण उपकरण भारतबाट ल्याउनुपर्दा समय लागेको उनले बताए । आयोजनालाई चाहिने केही सामग्री÷उपकरण भन्सारमा आइपुगेको जनाइएको छ । आयोजना प्रमुख सुवेदीले तोकिएकै समयावधिभित्र विद्युतीय तार भूमिगत गरिने बताए । “डिजाइनलगायत प्रक्रियागत तयारीले केही ढिलाइ भए पनि अब काम रोकिन्न”, उनले भने, “यसमा हामी कटिबद्ध छौँ, यो राष्ट्रिय महत्वको आयोजना हो ।” आयोजनाअन्तर्गत पोखरा–१० कुँडहरदेखि जिरो किमीसम्मको मुख्य राजमार्ग, सिर्जनाचोक, राष्ट्रबैङ्कचोक, लेकसाइड, सभागृहचोक, न्युरोड, चिप्लेढुङ्गागायतका क्षेत्रमा तार भूमिगत गरिने भएको हो । मुख्यदेखि सहायक सडकसम्मै तार बिछ्याइने जनाइएको छ । विद्युत् लाइनसँगै टेलिफोन, केबुल र इन्टरनेटका तारका लागि अप्टिकल फाइबर पनि बिछ्याइनेछ । “विद्युत्सँगै केबुल र दूरसञ्चार सेवा प्रदायक संस्थाका तार पनि एकैसाथ भूमिगत गरिन्छ, अहिले भएको ओभरहेड प्रणालीका सबै तार हट्छन्”, आयोजना प्रमुख सुवेदीले भने । पोखरामा मात्र तार भूमिगत र वितरण प्रणाली सुदृढीकरणमा रू एक अर्ब ३० करोड खर्च हुने प्राधिकरणले जनाएको छ । पोखरा र भरतपुरमा तार बिछ्याउन रू दुई अर्ब ५० करोड ३३ लाखमा भारतीय कम्पनी टाटा प्रोजेक्टसले ठेक्का पाएको थियो । दुवै सहरमा एकै प्याकेजमा काम भइरहेको आयोजना प्रमुख सुवेदीको भनाइ छ । तार बिछ्याएपछि ग्राहकको घरघरमा बिजुली पुर्‍याउने काम पनि प्राधिकरण नै गर्नेछ । प्राधिकरणको पोखरा वितरण केन्द्रका प्रमुख ऋषिकुमार वर्णपालले विद्युत् लाइन जमिनमुनि बिछ्याउँदा अव्यवस्थित तार, पोलबाट पोखराले मुक्ति पाउने बताए । “एकातिर सहरी सौन्दर्य बढ्छ, अर्कातिर भूमिगत तार बढी क्षमतायुक्त र भरपर्दो हुन्छ”, उनले भने, “विद्युतीय दुर्घटना न्यूनीकरणमा पनि यसबाट टेवा पुग्छ ।” प्रमुख वर्णपालले बिजुलीका तार चुँडिएर, सवारी साधन पोलमा ठोक्किएर बर्सेनि मानिसले ज्यान गुमाइरहेको सुनाए । “विद्युत् लाइन बिछ्याउने अभ्यास विश्वभर नै छ, हाम्रो जस्तो देशमा बजेटको सीमितता हुने हुँदा मुख्य सहरी क्षेत्रमा भर्खर सुरु हुँदैछ”, उनले भने, “पोखरा सहरभरिको तार भूमिगत गर्न अर्बौं बजेट चाहिन्छ ।” अहिले चलिरहेको विद्युत् वितरण लाइनभन्दा भूमिगत प्रणाली तीन÷चार गुणाले महँगो पर्ने उनको भनाइ छ । “महँगो परे पनि ग्राहकको बढ्दो माग र बिजुलीको चाप थेग्न भूमिगत प्रणालीमा जानैपर्छ”, प्रमुख वर्णपालले भने, “राज्यले यसमा लगानी बढाउनुपर्छ ।” उनका अनुसार पोखरा वितरण केन्द्रअन्तर्गत विद्युत्का ९४ हजार एक सय ६५ ग्राहक छन् । वितरण केन्द्रका आधारमा यो देशकै सबैभन्दा धेरै ग्राहक सङ्ख्या हो । प्राधिकरणले सहरी सौन्दर्य बढाउन ‘उज्यालो र सहर सफाइ अभियान’ चलाइरहेको छ । सडक छेउछाउका जीर्ण र प्रयोगविहीन पोल हटाउन सुरु गरिएको छ । भूमिगत प्रणालीलाई अन्य सहरमा विस्तार गर्दै जाने योजनामा प्राधिकरण छ । काठमाडौँ उपत्यकापछि भरतपुर र पोखरामा सो परियोजना अघि बढेको हो । तारैतारले जेलिएको पोखराको सौन्दर्य फर्काउन पनि यो अभियान सहयोगी बन्ने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताउनुभयो । “यो नमुना परियोजना हो, महानगरले पनि प्राधिकरणसँग लगानीमा साझेदारी गर्छ”, उहाँले भन्नुभयो, “आयोजनाको प्रभाव र उपयोगिता हेरेर पोखराका अन्य ठाउँमा पनि विस्तार गर्छौं ।” महानगर प्रमुख आचार्यले लथालिङ्ग तार र पोलले पर्यटकीय सहरलाई विरुप बनाइरहेका बेला परियोजना सुरु हुनुलाई सुखद रुपमा लिएको बताए । प्राधिकरणले सकेसम्म सडकमा न्यून क्षति हुने गरी तार बिछ्याउने प्रविधि प्रयोग गर्दै आएको छ । होरिजेन्टल डाइरेक्सनल ड्रिलिङ’ प्रविधिबाट सडक खनेर तार भूमिगत गरिने आयोजना प्रमुख सुवेदीले बताउनुभयो । यात्रु र यातायातका साधनको आउजाउमा बाधा नपुग्ने गरी निर्माणका काम हुने उहाँको भनाइ छ । तार भूमिगत गरेपछि ठाउँ–ठाउँमा ट्रान्सफर्मर राखेर ग्राहकका घरघरमा बिजुली पुर्‍याइने प्राधिकरणले जनाएको छ ।
बागलुङ–पोखरा सडक दैनिक आठ घण्टा बन्द हुने बलेवा। मध्यपहाडी लोकमार्गको बागलुङ–पोखरा खण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ। बागलुङ– पोखरा खण्डको स्तरोन्नतिको कामका लागि यातायात बन्द गरेर काम अघि बढाइने भएको हो। मध्यपहाडी राजमार्ग आयोजनाले बागलुङ–पोखरा खण्ड फराकिलो बनाउने कार्य सुरु गरेसँगै कामलाई तीव्रता दिन राजमार्गमा यातायातका साधन बन्द गरेर काम गर्न लागिएको जनाएको छ। आयोजनाका अनुसार प्रत्येक दिन बिहान ११ देखि अपराह्न ३ बजेसम्म र राति ९ देखि बिहान १ बजेसम्म सवारी साधनलाई रोकेर आयोजनाको कामलाई तीव्रता दिइनेछ। रोकिएका सवारी साधनलाई आधा घण्टाको फरकमा सञ्चालनको व्यवस्था मिलाइएको आयोजना कार्यालयले जनाएको छ। पोखरा—बाग्लुङ राजमार्गअन्तर्गत हाल पोखराको हरिचोकदेखि याम्दी पुलसम्मको सडक स्तरोन्नतिको काम भइरहेको हो। सो खण्डको निर्माणका लागि मोतिदान कन्स्ट्रक्सन प्रालिसँग ठेक्का सम्झौता गरिएको थियो। चौवारीबाट ५० मिटरअगाडि हेमजातर्फ भिरको उचाइ धेरै भएकाले भिर कटान कार्य भइरहेकाले सडक सुरक्षालाई ध्यानमा राखेर यातायात सञ्चालनमा रोक लगाइएको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय कुश्माका प्रमुख नारायणदत्त भण्डारीले बताए। उनका अनुसार उक्त सडकमा चल्ने सवारी साधनलाई वैकल्पिक मार्गको प्रायोग गर्न भनिएको छ। बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङलाई प्रदेशको राजधानी पोखरा र देशको राजधानी काठमाडौँलगायत देशका ठूला सहरसँग जोड्ने मुख्य राजमार्ग भएकाले यहाँका सर्वसाधारण प्रभावित हुनेछन्। यो सडक खण्डमा दैनिक हजारौँ सवारी साधन ओहोरदोहोर गर्ने गरेका छन्।
धनुषामा प्रहरी हिरासतबाट भागेका छमध्ये तीनजना पक्राउ धनुषा। इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट पर्खाल फोडेर भागेका छमध्ये तीनजना थुनुवा पक्राउ परेका छन्। पक्राउ पर्नेमा मिथिला नगरपालिका-२ का २५ वर्षीय हरिदीप सिंह, क्षीरेशवरनाथ नगरपालिका-२ का २५ वर्षीय अमित मण्डल र मिथिला नगरपालिका- ६ का रोशनकुमार महतो रहेका छन्। अभद्र व्यवहार तथा शान्तिसुरक्षाविरुद्धको मुद्दाका हरिदीपलाई मंगलबार राति र अमितलाई मंगलबार दिउँसो पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए। त्यस्तै हातहतियार खरखजाना मुद्दाका रोशनलाई सोमबार साँझ नै प्रहरीले पक्राउ गरेको थियो। आइतबार राति इलाका प्रहरी कार्याललयको हिरासतको भित्ता फोडेर विभिन्न मुद्दाका छजना फरार भएका थिए। बाँकी तीनजनाको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। जिल्ला प्रहरी कार्यालय र मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट खटिएको संयुक्त प्रहरी टोलीले खोजतलास जारी बताइएको छ।
६ वर्षदेखि सानीभेरी नदीको गाराघाट पुल अलपत्र सुर्खेत। रुकुम पश्चिमको मुसीकोट नगरपालिका–१ र बाँफीकोट गाउँपालिका–१० जोड्ने सानीभेरी नदीको गाराघाट पक्की पुल ६ वर्षदेखि अलपत्र परेको छ। तीन वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने उद्देश्यका साथ काम थालिएको गाराघाट पक्की पुल ६ वर्षसम्म अलपत्र परेको हो। सडक डिभिजन चौरजहारीले उक्त पुलको ठेक्का खोलेको इन्जिनियर प्रज्वल सुनारले जानकारी दिए। फाउन्डेसनको डिजाइन परिवर्तन गरिएपछि काममा ढिला भएको उनले बताए। हालसम्म ५० प्रतिशत मात्र कामको प्रगति भएको उनले बताए। संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयअन्तर्गत सडक डिभिजन कार्यालय चौरजहारीमार्फत आर्थिक वर्ष २०७२÷७३ मा गाराघाट पुल निर्माणको टेन्डर खोल्दा नागार्जुन कन्स्ट्रक्सन प्राइभेट लिमिटेडले २०७३ मा पुलको ठेक्का लिएको थियो । निर्माणका लागि नौ करोड ६१ लाख रुपैयाँमा पुल निर्माण गर्ने सम्झौता गरिएको थियो। नागार्जुन कन्स्ट्रक्सन प्राइभेट लिमिटेडका प्रतिनिधि पतिराम केसीले असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी कामलाई तीव्र पारिएको बताए। तीन वर्षभित्र सबै काम सक्ने पहिलो सम्झौता गरिएको भए पनि विभिन्न समस्याले गर्दा ढिलाइ भएको केसीको भनाइ छ। पुल निर्माणको काम लामो समयसम्म सम्पन्न नहुँदा यातायात सञ्चालनमा कठिनाइ हुने गरेको छ। विशेष गरेर वर्षायाममा सर्वसाधारणलाई आउजाउ र दैनिक उपभोग्य सामग्री ढुवानीमा समस्या भएको छ।
बन्दीपुरमा सुन्तला उत्पादन वृद्धि दमौली। तनहुँको बन्दीपुर गाउँपालिकामा सुन्तला उत्पादनमा वृद्धि भएको छ। गाउँपालिकाले सुन्तला खेतीलाई प्राथमिकता दिएर कार्यक्रम सञ्चालन गरेपछि उत्पादन वृद्धि भएको हो। अघिल्ला वर्ष सुन्तलामा लाग्ने भाइरसका कारण बिरुवा मर्दै जान थालेपछि सुन्तला उत्पादनमा ह्रास आएको थियो। केही वर्षयता पुनः बन्दीपुरमा सुन्तला उत्पादनमा वृद्धि हुन थालेको गाउँपालिकाका कृषि शाखाप्रमुख सुलभ अधिकारीले जानकारी दिए। “सुन्तला उत्पादनमा वृद्धि गराउन गाउँपालिकाले योजनाबद्ध कार्यक्रम सञ्चालन गरेपछि त्यसको प्रतिफल देखिन थालेको छ,” उनले भने। केही वर्षयता गाउँपालिका लगायतका विभिन्न निकायबाट सुन्तला पकेट क्षेत्र घोषणा गरी विभिन्न कार्यक्रममार्फत उक्त भाइरसको निदान गरी सुन्तला जोगाउन थालिएको छ। बन्दीपुर–३ स्थित रामकोट, तामुङडाँडा, वडा नं ५ को झारगाउँ, फलामडाँडा र ६ को काफलस्वाँरा, लखनबारी, घमलछाप, आँङटारीलगायत ठाउँहरु सुन्तला खेतीको पकेट क्षेत्र हुन्। बर्सेनि व्यावसायिक रूपमा उत्पादन हुँदै आएको सुन्तला गत वर्षभन्दा २५ प्रतिशतले वृद्धि भएको छ। यस वर्ष बन्दीपुरमा मात्रै एक सय ५० मेट्रिक टन सुन्तला उत्पादन भएको छ। जसको बजार मूल्य करिब रु एक करोड बराबर रहेको गाउँपालिका कृषि शाखाप्रमुख अधिकारीले बताए। काफलस्वाँरा कृषक समूहबाट मात्रै करिब छ सय क्विन्टल सुन्तला उत्पादन भएको समूहका अध्यक्ष धनराज गुरुङले जानकारी दिए। बन्दीपुर मध्यपहाडी क्षेत्रमा पर्ने हुँदा यो क्षेत्र सुन्तला उत्पादनका लागि उत्तम ठाउँ मानिएको छ। यहाँको हावापानी र माटो सुन्तला खेतीका लागि उपयुक्त रहेको उनले बताए। उनले भने, “केही वर्ष पहिले बोटमा किरा लाग्यो, उपचार पाएनन् त्यसले गर्दा उत्पादनमा कमी आयो, तर अहिले त्यो समस्या छैन, मौसमले पनि साथ दियो।” उनका अनुसार अघिल्लो वर्षका तुलनामा यस वर्ष २५ प्रतिशतले बढी उत्पादन भएको छ। बन्दीपुरका ग्रामीण क्षेत्रमा सुन्तला उत्पादनका लागि सुन्तला जोन घोषणा गर्ने तयारी गरिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए। “व्यावसायिक रुपमा सुन्तला खेती गर्ने कृषकलाई अनुदानको व्यवस्था मिलाउँछौँ”, उनले भने।
अनथालयमा यौन शोषण गरेको आरोपमा प्रमुख पक्राउ धनगढी। कञ्चनपुरको एक अनाथालयमा बालिकाहरूमाथि यौन शोषण गरेको आरोपमा अनाथालयका प्रमुख पक्राउ परेका छन्। प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार अनाथालयमा बस्दै आएका बालिकाहरूलाई यौन शोषण गरेको आरोपमा अनाथालयका प्रमुख सञ्चालक शंकरबहादुर चन्दलाई प्रहरीले पक्राउ गरेको हो। उनका अनुसार लामो समय देखी बालिकाहरूमाथि यौन शोषण हुँदै आएको सूचना प्रहरीलाई जानकारीमा आए पछि चन्दलाई प्रहरीले पक्राउ गरेको हो। अनाथालयमा आश्रित १४ वर्षीया र १६ वर्षीया बालिकामाथि शोषण गरेको उजुरी परेको थियो। पक्राउ परेका चन्द माथि अहिले हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ।
पनौतीलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउने प्रयास बनेपा। पनौती नगरपालिका–७ पुरानो बजार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन प्रक्रिया थालेको करिब २५ वर्षपछि व्यवस्थापन प्रणाली योजना बनाउन सुरु गरिएको छ। संयुक्त राष्ट्रसङ्घको शैक्षिक, वैज्ञानिक र सांस्कृतिक सङ्गठन (युनेस्को)द्वारा प्रस्तावित काभ्रेपलाञ्चोकको पनौतीलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रिया अगाडि बढाउन प्रणालीलाई व्यवस्थित गर्न नगरपालिका जुटेको हो। ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक नगर पनौतीलाई विश्वसम्पदामा सूचीकृत गराउन आवश्यक प्रक्रिया पूरा गर्ने क्रममा व्यवस्थापन प्रणालीलाई थप व्यवस्थित गर्न सरोकारवाला र समुदायस्तरमा छलफल थालिएको हो। सन् १९९१ मा पुरानो बजार क्षेत्रको ‘पनौती संरक्षित स्मारक क्षेत्र’ घोषणा गरिसकेको थियो। पनौतीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउनको लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पेश गरेको विवरण अपुग भएकाले त्यसलाई पूर्णता दिँदै छिटोभन्दा छिटो प्रक्रिया अगाडि बढाउनुपर्नेछ। आवश्यक पर्ने प्रक्रिया पूरा गर्दै अगाडि बढाउन सरोकारवाला सङ्घ\संस्था र निकायसँग छलफल सुरु गरेको पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले बताए। “स्थानीय सरकार, सङ्घ संस्था, समुदाय सबै एकताबद्ध भएर लाग्नका लागि यो छफलको आयोजना गरेका हौँ”, उनले भने, “हिजोका दिनमा जे जति गरेर काम अगाडि बढाएका थियौँ, त्यसलाई पूर्णता दिँदै अब बाँकी कामलाई सफल पार्नका लागि सबैको साथ र सहयोग आवश्यक छ।” कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय संस्कृति महाशाखा प्रमुख सुरेशसुरस श्रेष्ठले मन्त्रालयको नीतिमा भएको व्यवस्थाअनुसार सबै प्रक्रिया स्थानीय सरकारबाट पूरा गरेर पठाउनुपर्ने भएकाले सरोकारवालासँग छलफल थालिएको बताए। अहिलेसम्मको प्रक्रिया चरणबद्धरुपमा रहेको र अब व्यवस्थापनको कार्यमा सम्बन्धित सरोकारवालाको सामूहिक छलफलबाट सबैको जिम्मेवारीमा रहने गरी व्यवस्थापन योजना बनाइने उनले बताए। पनौती पर्यटक विकासका अध्यक्ष पुरुषोत्तम कर्माचार्यले पनौती संरक्षित स्मारक क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउनको लागि प्रक्रिया अगाडि बढाउनुपर्ने बताए। उनले लामो समयको अन्तरालमा पनि पुरातत्व विभागले तोकेअनुसारको घर निर्माण गर्नुपर्ने भएकाले नक्सापास गर्न विभागको अनुमति कुर्नुपर्दा नागरिकले घर बनाउन सास्ती खेप्नुपरेको बताए।
थुनुवा फरार घटना : थप एक जना पक्राउ धनुषा । धनुषाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतबाट फरार छ थुनुवामध्ये थप एकजना पक्राउ परेका छन् । हिरासतबाट फरार भएका थुनुवा क्षीरेश्वरनाथ नगरपालिका–२ का २५ वर्षीय अमित मण्डल पक्राउ परेका हुन् । यसअघि फरार रहेका थुनुवा मिथिला नगरपालिका–२ नक्टाझिजका रोशन महतोलाई प्रहरीले सोमबार पक्राउ गरेको थियो । चार थुनुवा अझै फरार छन् । उनीहरुको खोजी तीव्र पारिएको प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । फरार थुनुवाको जिल्ला प्रहरी कार्यालय धनुषा र मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरको संयुक्त टोलीले खोजी गरिरहेको छ । आइतबार राति हिरासतको भित्ता फोडेर विभिन्न मुद्दाका छ थुनुवा फरार भएका थिए ।
सिद्धार्थनगरका २६ जनालाई होटल तथा लज व्यवस्थापन तालिम भैरहवा। नगर क्षेत्रमा पर्यटन प्रवर्द्धन र रोजगारी सृजना गरी होटल व्यवसायलाई व्यवस्थित एवम् प्रभावकारी बनाउन १० दिने साना होटल तथा लज व्यवस्थापन तालिम प्रदान गरेको छ। सिद्धार्थनगर नगरपालिकाको आयोजना नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिस्ष्ठान काठमाडौंको सहकार्यमा होटल कसरी चलाउने सम्पूर्ण प्याकेज कुकिङ, हाउस किपिङ, सर्भिस र फ्रन्ट अफिसलगायतको विषयमा केन्द्रित भई तालिम दिइएको हो। नगरभित्रका २६ जना होटल व्यवसायी, कार्यरत कर्मचारी, होटल व्यवसाय गर्न इच्छुक र विद्यार्थीहरूलाई तालिम प्रदान गरिएको नगरपालिकाका अधिकृत कमलकान्त खनालले जानकारी दिए। सञ्चालन गरिरहेको होटललाई के कसरी थप व्यवस्थापन गर्ने, रोजगारी सृजना गर्न र क्षमता अभिवृद्धि गरी यस क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न स्वरोजगार बन्न सहयोग पुगेस भन्ने लक्ष्यका साथ तालिमको आयोजना गरिएको अधिकृत खनालले बताए। माघ ४ गते देखि भैरहवा स्थित पौवा होटलमा साना होटल तथा लज व्यवस्थापन तालिम सुरु गरिएको थियो। कोभिडले शुन्य अवस्थामा पुगेको पर्यटन व्यवसायको मुख्य होटल व्यवसायी नै भएकोले यस व्यवसायलाई पूर्वावस्थामा ल्याउन तालिमले थप सहयोग पुग्ने तालिममा सहभागी होटल व्यवसायीले भने। तालिमबाट हामीलाई समयसापेक्ष ज्ञान तथा सीप प्रदान भएको र यसलाई व्यवहारमा उतारी थप व्यवस्थित रुपमा होटल संचलन गर्न सहयोग पुग्ने उनीहरूले बताए। १० दिने तालिममा होटल संचालनका लागि आधारभूत सबै क्षेत्रलाई समेटेर तालिम प्रदान गरिएको सहयोगी संस्था नेपाल पर्यटन होटल व्यवस्थापन प्रतिष्ठानका तालिम संयोजक अशोक उपाध्यायले बताए। करिब सय वढि चाइनिज, इन्डिियन, कन्टीनेन्टीयल, ब्रेक फास्ट, सुप, डेजर्ट, सलाद, थाली खाना, र खानाका परिकारहरुको तालिम दिएका छौ यसले होटलमा काम गर्नेहरुका लागि र होटल संचालन गर्ने तयारीमा रहनु भएका सबैले प्रत्यक्ष रुपमा लाभ लिएका छन्।
प्रदेश १ मा ‘डेस्टिनेसन मार्केटिङ कन्क्लेभ’ काठमाडौं । प्रदेश १ लाई पर्यटनको आकर्षक गन्तव्य बनाउने उद्देश्यले ‘डेस्टिनेसन मार्केटिङ कन्क्लेभ २०२३’ कार्यक्रम आयोजना गरिएको छ । आन्तरिक र सीमापार पर्यटन प्रवद्र्धनार्थ प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपालले यही माघ १३ देखि १६ सम्म सुनसरीको धरानमा कन्क्लेभ आयोजना गरेको हो । उक्त कार्यक्रममा नेपाल, भारत, बङ्गलादेशदेखि अमेरिकासम्मका पर्यटन गन्तव्यका नेतृत्वदायी विज्ञ, पर्यटन उद्योगका विज्ञ, टूर अपरेटरसमेत गरी दुई सयभन्दा बढीको सहभागिता रहेको थियो । आन्तरिक र सीमापार पर्यटन सवलीकरणको नाराका साथ भएको उक्त कन्क्लेभमा भेडेटार, धनकुटा, धरान, बराहक्षेत्रको स्थलगत गन्तव्य अवलोकन भ्रमण तथा पर्यटकीय गतिविधिका विभिन्न कार्यक्रम भएको पाटाले आज विज्ञप्तिमार्फत जनाएको छ । कार्यक्रमको अन्तिम दिन एक दिने ‘कन्क्लेभ’ मा सामुदायिक पर्यटन अनुभव, अन्तक्र्रियात्मक भेटवार्ताका साथै पर्यटन क्षेत्रका सरोकारवाला, उद्यमीदेखि नेतृत्वको प्रदेश १ को पर्यटन विकासका विभिन्न आयामका बारेमा छलफल भएको थियो । सहभागीलाई व्यावसायिक सञ्जाल विस्तारको महत्वपूर्ण अवसरसमेत प्रदान गरेको थियो । कन्क्लेभको उद्घाटन गर्दै प्रदेश नं १ का मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेशलाई गन्तव्यको रुपमा विकास गर्न पाटा नेपालको पहल सान्दर्भिक भएको बताए । छलफलमा आएका विषयलाई प्रदेश सरकारले स्वामित्व लिने र आगामी बजेटमा विज्ञहरुका सल्लाहलाई समेत समेटेर अघि बढ्ने विश्वास व्यक्त गरे । सुन्दरहरैंचा नगरपालिकाका नगर प्रमुख केदारप्रसाद गुरागाईंले आफ्नो पालिकामा अन्तर्राष्ट्रियस्तरको कार्यक्रम गरेकोमा धन्यवाद दिँदै यस्ता कार्यक्रमबाट प्रदेश नं १ को आन्तरिक र सीमापार पर्यटन विकासमा महत्वपूर्ण योगदान पुग्ने बताए । पाटाका अध्यक्ष विभूतिचन्द ठकुरीले पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनको लागि प्रतिबद्ध संस्थाको पहललाई सरोकारवाला संस्थाले गरेको सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै विभिन्न गन्तव्यको दिगो पर्यटन विकास र प्रवद्र्धनका लागि प्रतिबद्धताका साथ लाग्ने बताए । उनले पाटा अन्तर्राष्ट्रियको सार्वजनिक निजी साझेदारीमा पर्यटन क्षेत्रको विकास विस्तार र प्रवद्र्धन गर्ने भावनाअनुरुप आयोजना गरिएको डेस्टिनेसन मार्केकिङ कन्क्लेभले पर्यटन क्षेत्रका विज्ञदेखि उद्यमी, सरकार र निजी क्षेत्रका सरोकारवाला सबैलाई एकै ठाउँमा भेला गर्ने अद्वितीय मञ्च प्रदान गरेको उल्लेख गरे । पाटाका सिइओ सुरेशसिं बुडालले प्रदेश नं १ मा पहिलोपटक आयोजना भएको यस कार्यक्रम पर्यटन क्षेत्रसँग सम्बन्धित सार्वजनिक तथा निजी क्षेत्रका सरोकारवालाई उदीयमान गन्तव्यका पर्यटनउपज तथा सम्भावनाको प्रवद्र्धन गर्न उपयोगी भएको बताए ।
चितवनमा बुधबारदेखि पासपोर्टको लागि अनलाइन आवेदन दिन सकिने चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले भोलि दिउँसो १२ बजेबाट पासपोर्टको लागि अनलाइन आवेदन दिन सकिने व्यवस्था गरेको छ । प्रशासनले एक सूचना जारी गर्दै भोलि दिउँसो १२ बजेबाट दिनको १२० जनालाई पासपोर्ट दिने गरी अनलाइन आवेदन खुला गरिन लागेको जनाएको हो । सूचनामा नेपाल सरकारको राहदानी विभागको सूचना अनुसार राहदानी सेवालाई सरल, सहज र झन्झटरहित बनाउन कार्यालयको क्षमता अनुसार एक महिनामा करिब तीन हजारको संख्यामा अनलाइन आवेदन खुल्ने व्यवस्था गर्न लागिएको उल्लेख गरिएको छ ।
होटल र मदिरा व्यवसायीलाई करको दायरामा आउन महानगरको आग्रह विराटनगर । नगर क्षेत्रका सबै व्यवसायीलाई करको दायराभित्र आउन विराटनगर महानगरपालिकाले आग्रह गरेको छ । विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने महानगरको अभियानमा होटल तथा मदिरा व्यवसायीले पनि साथ दिनुपर्ने महानगरको आग्रह छ । विराटनगरभित्र सञ्चालित धेरै होटल र मदिरा व्यवसाय दर्ता नगरेको पाइएपछि व्यवसायीहरुलाई बोलाएर महानगरले छलफल गरेपछि सो आग्रह गरेको हो । महानगर प्रमुख नागेश कोइरालाले यो अभियानमा साथ दिन व्यवसायीलाई आग्रह गरे । “सबैको साथ र सहयोगले मात्रै विराटनगरलाई व्यवस्थित बनाउन सकिन्छ”, उनले भने । प्रमुख कोइरालाले बढीभन्दा बढी कर सङ्कलन नभएसम्म महानगरवासीको विकासको चाहना पूरा गर्न गाह्रो पर्ने भन्दै उनले भने, “ करको दर बढाएको छैन । हामीले दायरा मात्रै बढाउन अभियानमा छौँ”, नगरमा धेरै होटल, रेष्टुरेन्ट र मदिरा पसलहरु महानगरमा दर्ता नगरीकनै सञ्चालन गरेको पाइएको उनको भनाइ थियो । उपप्रमुख शिल्पा निराला कार्कीले कानुनी रुपमा बलियो भएर व्यवसाय सञ्चालन गर्दा कसैसित पनि डराउनु नपर्ने बताइन् । उनले अनुगमनमा पुग्दा सबै कागजपत्र दुरुस्त बनाएर राख्दा व्यवसायीकै प्रतिष्ठा बढ्ने कुरामा जोड दिइन् । प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले महानगर क्षेत्रभित्र सञ्चालित सबै व्यवसायलाई करको दायरामा ल्याउने गरी काम भइरहेको बताए । सो छलफलमा उपस्थित व्यवसायीले गुनासो पोखेका थिए । होटल र रेष्टुरेन्ट अगाडि नै मादक पदार्थ सेवा सम्बन्धी जाँच गरिदिँदा पसलको सटर लगाउनुपर्ने अवस्था आएको बताए । होटल व्यवसायी खिलकुमार सुवेदीले कोरोनाका कारण सुस्ताएको व्यवसाय अझै माथि उठ्न नसकेको गुुनासो सुनाए । “ग्राहक नआउँदा होटलका टेबल र कोठा खाली छन्”, उनले थपे, “यस्तो अवस्थामा हामीले कसरी कर तिर्नु ?” उनले किराना पसलहरुले पनि मदिरा बिक्री गरिरहेको जानकारी दिए । मदिरा व्यवसायी सङ्घ मोरङका पूर्वाध्यक्ष अंशु बञ्जराले विराटनगरको विकासका लागि जतिसुकै पनि कर तिर्न तयार रहेको प्रतिक्रिया दिए। उनले घरेलु मदिराको बिक्री नियन्त्रण गर्न नसकेको गुनासो पोख्दै महानगरले मदिराको लाइसेन्ससमेत नदिएको गुनासो गरे । होटल तथा पेयपदार्थ व्यवसायी सङ्घ मोरङका अध्यक्ष सुरज श्रेष्ठले निश्चित समयसम्म जरिवाना छुट दिएर करको दायरामा ल्याउनुपर्नेमा जोड दिए । उनले विद्यालय र मन्दिर छेउ मदिरा बिक्री वितरण रोक्न आफूहरुले स्थानीय प्रशासनलाई सहयोग गर्ने धारणा राखे । पसल आगाडि पार्किङ निषेध गर्दा ग्राहक आउन छाडेको व्यवसायीहरुको गुनासो थियो । मदिरा व्यवसायीलाई करको दायरामा ल्याउन महानगरले आगामी फागुन मसान्तसम्म दर्ता र नवीकरणका लागि शत्प्रतिशत जरिवाना छुट गर्ने राजस्व महाशाखाप्रमुख सरोज गौतमले जानकारी दिए ।
रोहिणी गाउँपालिकाले सीसी क्यामेराबाटै थाल्यो नगरका महत्वपूर्ण क्षेत्रको निगरानी भैरहवा। सुचना तथा सञ्चार प्राविधिको प्रयोग गरी रुपन्देहीको रोहिणी गाउँपालिकाले नगरका महत्वपूर्ण क्षेत्रको निगरानी र सुरक्षा अत्याधुनिक सीसी क्यामराले गरेको छ । अपराध नियन्त्रणमा सिसी क्यामरा प्रभावकारी देखिएपछि पालिका क्षेत्रमा रहेका व्यस्त क्षेत्र, मुख्य मार्ग, विद्यालय, प्रशासनिक तथा वडा कार्यालय, स्वास्थ्य चौकी क्षेत्रको सीसी क्यामेराबाट निगरानी गर्न थालिएको हो । सेवाप्रदायक कार्यालयहरुमा सुशासन र पारदर्शीताको लागि प्रदान गर्ने सेवा सुविधालाई चुस्तदुस्त पार्न कार्यालयको निगरानीको लागि सिसि क्यामरा जडान गरिएको गाउँपालिकाले जनाएको छ । कार्यालय वा सडकमा हुने गतिविधि  निगरानी गर्ने उद्देश्यले पािलकाले सीसी क्यामरा जडान गरी नियमन गरिरहेको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले बताए । क्यामरा जडानपश्चात कार्यालयको कामलाई चुस्तदुस्त र पारदर्शी बनाउन सहयोग पुगेको र सबाट कर्मचारीले सेवाग्राहीको कामकाज चुस्तदुस्त रुपमा गरे नगरेको निगरानी गर्न सजिलो भएको यादवले बताए ।
राप्ती शान्ति उद्यान पर्यटकीय केन्द्र बन्दै दाङ। द्वन्द्वको समयमा शान्तिको सन्देश दिने उद्देश्यले स्थापना गरिएको राप्ती शान्ति उद्यान यतिखेर जिल्लाकै प्रमुख पर्यटकीय केन्द्र बनेको छ। तुलसीपुर उपमहानगरपालिका-७ मा रहेको सो पार्कको अवलोकन गर्ने आउनेहरुको दिनहुँ भिड लाग्ने गरेको छ। कोरोना महामारीमा सुनसान रहेको सो उद्यानमा यतिबेला आगन्तुकहरुको भिड नै लाग्ने गरेको छ। जिल्ला बाहिरबाट पनि पर्यटकहको सङ्ख्या बढ्न थालेको पार्क व्यवस्थापन समितिले जनाएको छ। उद्याने अवलोकन तथा यस क्षेत्र आसपासमा वनभोजका लागि दैनिक चार सयदेखि पाँच सयको सङ्ख्यामा बाह्य पर्यटकहरु आउने गरेको राप्ती शान्ति उद्यान समितिका कर्मचारी खेतुप्रसाद भण्डारीले बताए। उनका अनुसार पार्क अवलोकन गर्न आउनेहरुबाट प्रतिव्यक्ति रू ३० शुल्क निर्धारण गरिएको छ भने वनभोज खान आउने समूहबाट रू तीन सयदेखि पाँच सयसम्म शुल्क निर्धारण गरिएको छ। अहिले सो पार्कमा सात जनाले रोजगारी पाएका छन्। सबै व्यवस्थापकीय खर्च कटाएर वार्षिक रू ४० देखि ४५ लाख बचत हुने गरेको उद्यानका कर्मचारी भण्डारीले जानकारी दिए। उद्यान पन्ध्र हेक्टर क्षेत्रफलमा फैलिएको छ। राप्ती राजमार्गअन्तर्गत तुलसीपुर सल्यान सडक खण्डको तीन किमी उत्तरमा श्रीगै गाउँदेखि झन्डै डेढ पूर्वमा पर्ने पार्कको पूर्व दक्षिण सिमानामा वन तथा जङ्गल, पश्चिम तथा उत्तरतर्फ गणेशपुर गाउँ पर्छ। पार्कभित्रको उत्तरतर्फ बालबालिकाहरुका लागि बाल उद्यान र सो क्षेत्रमा बेबी रेल, पिङ, चिप्लेटी र नजिकैमा पौडी पोखरीको निर्माण गरिएको छ। पार्कमा विभिन्न प्रजातिका वनस्पति र बगैँचा पनि छ। त्यसैगरी उत्तरतर्फ निर्माण गरिएको मिनी चिडियाखानामा चितुवा, दुम्सी, घोरल, खरायो, मृग, चिल, उल्लुलगायत विभिन्न प्रजातिका जनावर तथा पशुपक्षीहरु राखिएका छन्। पार्कभित्रको मुख्य आकर्षणमा भगवान् गौतम बुद्धको मूर्ति छ। मूलगेटबाट पार्कभित्र प्रवेश गरेपछि सुरुमै बुद्धको मूर्ति देख्न सकिन्छ। यो मूर्ति राखेसँगै पर्यटकहरुको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको बताइएको छ। यहाँ खानेपानी, शौचालयदेखि वनभोज खान आउनेहरुलाई आवश्यक पर्ने सामग्री, दाउरा तथा ग्यासको सुविधा छ। द्वन्द्वको समयमा शान्तिको कामना गर्दै स्थानीय गणेश सामुदायिक वन समूहका उपभोक्ता, यस क्षेत्रका बुद्धिजीवी, व्यापारी, नागरिक अगुवा र सरकारी निकायको पहलमा त्यहाँ राप्ती शान्ति उद्यान निर्माण गर्ने निर्णय गरिएको थियो। पार्क निर्माणकास्थानीय गणेश सामुदायिक वन उपभोक्ता समितिले जग्गा उपलब्ध गराएको थियो। नेपाल सरकार स्थानीय विकास मन्त्रालयबाट रू साढे ३७ लाख अनुदान प्राप्त भएको र सो रकमबाट पार्क निर्माणको कामको थालनी गरिएको पार्क व्यवस्थापन समितिले जनाएको छ। त्यसपछि पनि पटक पटक गरी सरकारी निकाय, तुलसीपुर उपमहानगरपालिका, यस क्षेत्रका जनप्रतिनिधिलगायत गरी हालसम्म रू पाँच करोड खर्च गरिसकेको पार्क व्यवस्थापन समितिका अध्यक्ष डिल्ली भण्डारीले बताए। उक्त रकम समितिको कार्यालय भवन, पर्खाल, शौचालय, गेट, वनभोजस्थल, चिडियाखाना, गौतमबुद्धको मूर्ति, गार्डेन, बाल उद्यानलगायतका पूर्वाधार निर्माणमा खर्च गरिएको भण्डारीले जानकारी दिए। उनले अब केही दिनमै सो इमो, चित्तल, रतुवा, गोही लगायतका जनावर तथा पशुपक्षी ल्याउने तयारी गरिएको पनि बताए। – रासस
सर्पपालनको टुंगाे छैन, खरिद गरिएको जमिन चरन क्षेत्र बन्दै सर्लाही। सर्लाहीको लालबन्दी नगरपालिका-१ मा सर्पपालनका लागि खरिद गरिएको करिब १० बिघा जमिन यतिबेला चरन क्षेत्र बनेको छ। सर्पपालनका लागि झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानले खरिद गरेको जमित यतिबेला उपयोगबिहीन बन्न पुगेको छ। नेकपा (एमाले)का तत्कालीन अध्यक्ष झलनाथ खनालले २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा सर्लाही क्षेत्र नं १ बाट चुनाव लड्दा चुनावी प्रचारका क्रममा यहाँ सर्पपालनको प्रतिबद्धता जनाएका थिए। लालबन्दी नगरपालिका-१७ स्थित रानीगञ्जमा सर्पदंशबाट एक बालकको मृत्यु एपछि खनालले सोही समयमा प्रतिष्ठान स्थापना गर्ने घोषणा गरेका थिए। सर्पको टोकाइबाट घाइते बालकले समयमै भ्याक्सिन नपाउँदा मृत्यु भएको थियो। त्यसैले नेपालमै पहिलो पटक एन्टिस्नेक भेनम (एएसभी) उत्पादन गर्न पहल सुरु गर्नका लागि प्रतिष्ठान स्थापना गरी सर्पपालन सुरु गर्ने घोषणा गरिएको थियो। एन्टिस्नेक भेनम उत्पादन आफैँमा महत्वपूर्ण भए पनि आफ्नै नाममा प्रतिष्ठान स्थापना गरेका भन्दै खनालको आलोचना पनि भयो। त्यसपछिका प्रतिष्ठानका काम पनि विवादमा तानिन थालेपछि करिब रू १९ करोड खर्च हुँदा पनि यसले मूर्तरुप लिन सकेको छैन। यति ठूलो रकम खर्च भइसक्दा पनि सर्पपालन कहिलेदेखि सुरु हुन्छ भन्ने यकिन छैन। विवाद बढ्दै गएपछि गत साउनमा संस्थाको नाम परिवर्तन गरी राष्ट्रिय स्वास्थ्य विज्ञान एवं अनुसन्धान परिषद् बनाइएको परिषद्का अध्यक्ष रेवती पन्तले बताए। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको समयमा प्रतिष्ठानलाई रू ७२ करोड दिने सम्झौता भएको थियो। त्यसपछि सबै रकम नेता खनालले लिए जस्तो गरी प्रचारप्रसार भएको थियो। “यथार्थ के हो भन्ने विषयमा धेरै मानिस प्रवेश नै गरेनन्, राम्रो कामका लागि खोलिएका संस्था भए पनि बदनामी धेरै भयो”, अध्यक्ष पन्तले भने, “अफवाह फैलिएपछि संस्थाको नाम परिवर्तन गर्नुपर्‍यो।” व्यक्तिका नाममा संस्था खोलिएपछि सर्वसाधारणको विरोधसँगै गर्न दातृ निकायले पनि नरुचाएको उनको भनाइ छ। उनका अनुसार अस्पताल निर्माणपछि थाइल्यान्डबाट मेडिकल उपकरण निःशुल्क रूपमा प्राप्त हुने सहमति भएको छ। “भारतको सेरम इन्स्टिच्युटले भेनम बनाइदिने समझदारी भएको छ भने सर्पपालनका लागि आवश्यक प्राविधिक जनशक्ति उत्पादनमा सहयोग गर्न विभिन्न निकायले प्रतिबद्धता जनाएको उनको भनाइ छ। तर संस्था स्थापना भएको आठ वर्ष बितिसक्दा पनि विभिन्न कारणले न्यूनतम संरचना समेत निर्माण हुन सकेको अवस्था छैन। हालसम्म सरकारबाट प्राप्त भएको रकम डीपीआर, जग्गा खरिद, अध्ययन अनुसन्धानमा खर्च भएको अध्यक्ष पन्तको भनाइ छ। लालबन्दी नगरपालिका-१ मा रू सात करोड खर्चेर परिषद्ले जग्गा खरिद गरेको छ। नन्देश्वर महादेव सामुदायिक वन क्षेत्र नजिकै खरिद गरिएको करिब १० बिघा जमिन अहिले चरन क्षेत्रमा परिणत भएको छ। “कार्यालय र भेनम उत्पादनका लागि चाहिने जग्गा र संरचना बनाउनुपर्ने भएकाले करिब १० बिघा जमिनसहित १० कट्ठा ऐलानी जग्गा लिएका छौँ”, अध्यक्ष पन्तले भने, “जग्गामा कम्पाउन्ड वाल निर्माणका लागि पिल्लर ठड्याइए पनि त्यो अपूरो छ।” कुल २२ वटा भवन बनाउने योजना भए पनि चार वटा भवन निर्माण गर्न रू ३४ करोडमा ठेक्का लगाइएको छ तर भवनको जगसमेत खनिएको छैन। शर्मा एन्ड धुलिखेल जेभीले निर्माणको ठेक्का पाएको थियो। “कम्पाउन्ड वाल निर्माण तथा अन्य काममा रू छ करोड खर्च भएको भन्दै भुक्तानीका लागि बिल आएको थियो तर सन्तोषजनक काम नदेखिएपछि हामीले रोकेका छौँ”, उनले भने। परिषद्ले अस्पताल, प्रयोगशाला, प्रशासनिक भवन र सर्प पाल्न भवन निर्माणको लक्ष्य राखेको छ। एन्टिभेनम उत्पादन, परीक्षण र अध्ययन गर्ने केन्द्र यही क्षेत्रभित्र बनाउने भनिएको छ। तर, बजेट अभावले काम अघि बढ्न नसकेको उनको भनाइ छ। प्रतिष्ठानको गुरुयोजनामा साढे तीन अर्बको लागतमा नेपालमै एन्टिभेनम उत्पादन सम्भव हुने उल्लेख छ। केपी शर्मा ओली नेतृत्वको सरकारले रु ७२ करोड दिने घोषणा हुँदा केन्द्र सरकारले ४० प्रतिशत र प्रदेश सरकारले ६० प्रतिशत बजेट बेहोर्ने भनिएको थियो। आर्थिक वर्ष २०७६/७७ मा केन्द्रले रू छ करोड बजेट पठाएको थियो। प्रदेश सरकारले उक्त रकममा ६० प्रतिशत थप गरेर पठाइदिनुपर्नेमा हालसम्म प्राप्त भएको छैन। स्थानीय सरकारले समेत वार्षिक रू एक करोड दिने सम्झौता भए पनि लालबन्दी नगरपालिकाले सम्झौता अनुसारको रू पाँच करोड भुक्तानी भएको छैन। परिषद्मा हाल चार जना कर्मचारी छन्। उनीहरुको तलबमा मासिक रू डेढ लाख खर्च हुन्छ। कार्यालयको भाडा मासिक रू ५० हजार छ। नेपालमा सर्पको टोकाइबाट वार्षिक तीन हजार मानिसको मृत्यु हुने गरेको तथ्यांक छ। परिषद्का कार्यक्रम संयोजक उमेश बराल भने अब आफूहरु सर्प पाल्नका लागि दुई वटा विकल्पमा जाने बताए। भवन निर्माण गरी सर्प उत्पादन गर्ने र जंगलबाट सर्प ल्याएर क्वारेन्टिनमा राखी विष निकाल्ने विकल्पबारे योजना बनाइएको उनको भनाइ छ। “विभिन्न प्रजातिका सर्प ल्याएर यहीँं उत्पादन योजना छ। यसका लागि एक सयभन्दा बढी सर्प आवश्यक पर्छ”, उनले भने, “उच्च सुरक्षासहितको भवन बनाएर बाहिरकै तापक्रममा राखेर विष निकालन सकिन्छ।” बाहिरबाट ल्याइएका सर्पलाई केही दिन क्वारेन्टिनमा राखी स्वास्थ्य परीक्षण गरेपश्चात् विष निकालेर पुनः प्राकृतिक अवस्थामा छाड्न सकिने उनको भनाइ छ। “सर्प पालनका लागि धेरै प्राविधिक काम गर्नुपर्ने भएकाले चुनौती छ”, उनले भने, “तर अहिले नै नेपालमै एन्टिभेनम उत्पादन सम्भव छैन। हामीसँग ल्याव पनि छैन।” उनका अनुसार पहिलो चरणमा विष निकालेर भारतको सेरम इन्स्टिच्युटमा परीक्षण गराइ एएसभी बनाउने योजना छ। त्यसका लागि घोडा पाल्नु पर्दैन। सर्पबाट विष निकालेपछि निश्चित मात्रा घोडालाई दिइन्छ। विष निष्क्रिय पार्ने क्रममा घोडाले एन्टिबडी निकाल्छ र त्यही एन्टिबडी रगतबाट संकलन गरिन्छ। त्यसरी संकलित रगतलाई प्रशोधन गरेर एएसभी बनाइने बरालको भनाइ छ। साथै दोस्रो चरणमा भेन प्रयोगशाला निर्माण गर्ने र घोडापालन गर्न सकिने उनको भनाइ छ। विज्ञकै परामर्शमा सर्पपाल्नका लागि चाहिने भूगोल र वातावरण सुहाउँदो जग्गा खरिद गर्ने अध्यक्ष पन्तको भनाइ छ। उनका अनुसार सर्लाही, झापा, महोत्तरी, चितवन, नवलपरासी, बाँकेलगायतका जिल्ला वातावरणीय हिसाबले सर्पपालन उपयुक्त स्थान मानिन्छन्। नेपालमा भेनम उत्पादन गर्ने सवालमा स्पष्ट नीति नभएको उनको छ। भारत सरकारले सन् २०१२ देखि एएसभी निर्यातमा रोक लगाए पनि विश्व स्वास्थ्य संगठनको विशेष पहलमा नेपाल ल्याउने गरिएको छ। “भारतले आन्तरिक माग धान्न सकिरहेको छैन तर नेपाललाई सहयोग भने गर्ने प्रतिबद्धता जनाएको छ”, उनले भने, “अहिले प्रविधिमा भारतीय कम्पनीले सहयोग गर्ने र दोस्रो चरणमा कच्चापदार्थ पठाउने समझदारी भएको छ।” भारतमा हैदराबादको भिन्स बायोप्रोडक्ट्स लिमिटेड, महाराष्ट्रको भारत सेरम्स एन्ड भ्याक्सिन्स लिमिटेड, मुम्बईको हाफ्किन इन्स्टिच्युट, पुणेको सेरम इन्स्टिच्युट अफ इन्डिया प्राइभेट लिमिटेड, प्रिमियम सेरम एन्ड भ्याक्सिन्स प्राइभेट लिमिटेडलगायत दर्जनभन्दा बढी कम्पनीले एएसभी उत्पादन गर्दै आएका छन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार नेपालमा वार्षिक रूपमा ५० हजारभन्दा बढी भाइल एएसभी आयात हुने गरेको छ। तराईका २३ जिल्लामा वार्षिक सर्पदंशका ३७ हजार छ सय ६१ वटा घटना हुने गरेको युनिभर्सिटी अफ जेनेभा, बीपी प्रतिष्ठान, विश्व स्वास्थ्य संगठनका छ जना चिकित्सकले गरेको एक वर्ष लामो अध्ययनबाट पुष्टि भएको छ। ल्यान्सेट जर्नलमा प्रकाशित ‘स्नेकबाइट इपिडिमियोलोजी इन ह्युमन एन्ड डमेस्टिक एनिमल्स एक्रस द तराई रिजन इन नेपाल ‘अ मिल्टक्लस्टर रेन्डम सर्भे’ शीर्षकमा प्रकाशित आलेखले हरेक वर्ष सर्पदंशका २६ हजार सात सय ४९ देखि ३७ हजार छ सय ६१ घटना हुने गरेको उल्लेख गरेको छ। ती घटनामा दुई हजार तीन सय ८६ देखि तीन हजार दुई सय २५ जनाको मृत्यु हुने गरेको छ। विश्व स्वास्थ्य संगठनले यसअघि नेपालमा बर्सेनि २० हजार वटा सर्पदंशका घटना हुने र तीमध्ये एक हजार जनाको मृत्यु हुने उल्लेख गरेको थियो। तराईका २३ जिल्लाका दुई सय ४९ गाउँका १३ हजार आठ सय ७९ वटा घरमा एक वर्ष लगाएर गरिएको सर्वेक्षणबाट उक्त तथ्य निकालिएको थियो। सर्पदंश घटनामध्ये ४८ दशमलव आठ प्रतिशतलाई विषालु सर्पले टोकेको पाइएको थियो। तीमध्ये सात दशमलव आठ प्रतिशत मानिसको मृत्यु भएको अनुसन्धानमा उल्लेख छ। अनुसन्धानले तराईका हरेक एक लाख मानिसमा दुई सय ५१ जनालाई सर्पले टोक्ने गरेको देखाएको छ। तीमध्ये २२ जनाको मृत्यु हुने गरेको छ। सर्पदंशका कारण मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका छन्। जसमा ६४ प्रतिशत महिला मात्र छन्। पूर्वी नेपाल र मध्यमाञ्चलमा मृत्युदर बढी पाइएको थियो। यसअघि सन् २००४ मा पूर्वी नेपालमा गरिएको अनुसन्धानले सर्पदंशका कारण ८० प्रतिशत मानिसको अस्पताल पु¥याउनु अघि नै ज्यान जाने गरेको देखाएको थियो। विश्वमा हरेक वर्ष २० लाखभन्दा बढी सर्पदंशका घटना हुने गर्छन्। तीमध्ये ८१ हजारदेखि एक लाख ३८ हजार मानिसले ज्यान गुमाउने गरेका छन्। नेपालमा हाल ८४ प्रजातिका सर्प पाइन्छन्। तीमध्ये करिब २१ प्रजाति विषालु छन्। विषालुमध्ये गोमन, करेत, रुसेल्स भाइपर, किङ कोब्रा र कोरल स्नेक (कर्कट नाग) सबैभन्दा धेरै विषालु हुन्। रासस
सहकारीको ऋण चुक्ता नगर्ने आठ ऋणीको जग्गा रोक्काका लागि मालपोतमा निवेदन खोटाङ। खोटाङको लालुपाते बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सञ्चालक समिति ऋण चुक्ता नगर्ने ऋणीको जग्गा रोक्काका लागि जिल्ला मालपोत कार्यालय पुगेको छ। बचत अपचलनका कारण संकटमा फसेको सहकारीका सञ्चालक समिति ऋण चुक्ता गर्न बेवास्ता गर्ने ऋणीको जग्गा रोक्काका लागि मालपोत कार्यालय पुगेको हो। रकम चुक्ता गर्नका लागि पटक-पटक पत्र पठाउँदा, फोन सम्वाद गर्दा र जमानीलाई पत्राचार गर्दा समेत ऋण चुक्ता नभएपछि सहकारीको माघ १३ गते बसेको बैठकको निर्णयअनुसार पहिलो चरणमा आठ जना ऋणीको जग्गा रोक्काका लागि मालपोतमा निवेदन दिइएको सहकारी सञ्चालक समितिले जनाएको छ। ऋण चुक्ता गर्न नआएको खण्डमा सोही चल-अचल सम्पत्ती विक्री गरी असुल उपर गर्नुपर्ने भन्दै सञ्चालक समितिले प्रदेश सहकारी ऐन २०७६ को दफा ६९ को उपदफा २ बमोजिम रोक्काका लागि मालपोतमा निवेदन दिएका हुन्। प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय, सुनसरीले ऋण असुल गर्नका लागि सबै खालका कानुनी कारबाही गर्न माघ ३ गते पठाएको आदेशका आधारमा जग्गा रोक्काका लागि मालपोत कार्यालय पुगेको सञ्चालक समितिले बताएको छ। सहकारीका तत्कालीन अध्यक्ष जोशी र व्यवस्थापक रुकु जोशीले बचत अपचलन गरेका कारण लगानी डुबेको भन्दै बचतकर्ता आन्दोलनमा छन्। थोपाथोपा गरेर जम्मा गरेको बचत डुबेको भन्दै बचतकर्ता छटपटिमा छन्। बचत फिर्ताका लागि बचतकर्ता दैनिकजसो सहकारीको ढोका ढककाउन पुग्ने गरेका छन्। बचतकर्ताले घेर्न थालेपछि अप्ठ्यारोमा परेको सञ्चालक समितिले ऋण असुल गर्दै बचत फिर्ता गर्ने प्रयास सुरु गरेको जनाएको छ। वित्तीय कारोबारबाहेक उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने नाराका साथ २०७२ मंसिर १० गतेदेखि दिक्तेलबजारमा कारोबार सुरु गरेको सहकारीको बचत अपचलन भएको विषय भने अध्यक्ष जोशीको निधनपछि मात्र खुलेको हो। जोशीको कोभिड-१९ को संक्रमणका कारण २०७८ बैसाख १५ गते पोखरामा निधन भएको थियो। उनको निधनपछि निक्षेपकर्ताहरु निक्षेप रकम फिर्ता माग्न आउँदा सञ्चालक समितिका पदाधिकारी तथा सरोकारवालाले सहकारीको कारोवार तथा हिसाव हेर्नेक्रममा निक्षेप फिर्ता गर्ने मौज्दात रकम नै नदेखिएपछि खोजी गर्नेक्रममा बचत अपचलन भएको विषय बाहिरिएको हो । जोशीको निधनपछि २०७८ बैसाख १६ गतेदेखि सहकारीको आर्थिक कारोबार ठप्प छ। सहकारीमा जिल्लाका ४५०० बचतकर्ताको लगानी छ। एकैजनाले ४५ लाखसम्म बचत गरेका छन्। सहकारीको ७४ जना ऋणी छन्। उनीहरुले न्यूनतम ३० हजारदेखि ७५ लाखसम्म ऋण लगेको देखिन्छ । सहकारीको जग्गा बाहेक सावा व्याजसहित करिब १० करोड ऋण लगानी छ। बचतकर्तालाई सावाँव्याज सहित करिब ७ करोड फिर्ता दिनुपर्ने हिसाब छ । तर, अध्यक्ष जोशीको मृत्युका कारण ऋण उठाउन कठिन भइरहेको छ। सहकारीको नाममा खरिद गरिएको जग्गा समेत जोशीको परिवार तथा आफन्तको नाममा राखेको पाइएको सहकारीको आर्थिक वर्ष २०७७/०७८ को लेखा परीक्षण प्रतिबेदनमा उल्लेख छ। त्यसमध्ये तत्कालिन व्यवस्थापक रुकु जोशीको नाममा हलेसी र बाम्राङमा रहेको केही कित्ता जग्गा सहकारीको नाममा ल्याइसकिएको सहकारी सञ्चालक समितिका सदस्य तुलसीराम आचार्यले बताए।
रोल्पाका दुई स्थानीय तहबीच देखिएको सीमा विवाद समाधान गर्न समिति गठन रोल्पा । रोल्पाका दुई स्थानीय तहबीच देखिँदै आएको सीमा विवाद समाधानको प्रयास थालिएको छ । रोल्पा नगरपालिका र माडी गाउँपालिकाबीच देखिँदै आएको खुम्वास क्षेत्रको सीमा विवाद रहँदै आएको छ । यसका लागि लुम्बिनी प्रदेशसभा सदस्य दीपेन्द्रकुमार पुनमगरको नेतृत्वमा रोल्पा नगर प्रमुख सुरेन्द्र थापा घर्ती र माडीका अध्यक्ष अमरसिंह घर्तीमगरसहितको टोली विवादित क्षेत्रमा पुगेको थियो । सीमा क्षेत्रमा पुगेको सर्वपक्षीय टोलीले अविलम्ब सीमा विवाद हल गर्नुपर्ने निश्कर्ष निकालेको थियो । रोल्पा –८ जङ्कोट र माडी–५ भावाङले दाबी गर्दै आएको सो क्षेत्रको विवाद समाधान गर्न जिल्ला समन्वय समितिका उपप्रमुख कर्मलाल परियारको संयोजकत्वमा सात सदस्यीय समितिसमेत गठन गरिएको छ । समितिमा रोल्पा नगर उपप्रमुख गीता आचार्य, माडीका उपाध्यक्ष जयपुरी घर्तीमगरसहित दुवै वडाका वडाध्यक्ष र सरोकारवालाहरू सदस्य रहेका छन् । समितिले विवादित क्षेत्रको अध्ययन गरी छिटोभन्दा छिटो विवाद समाधान गर्ने रोल्पा नगरपालिकाका उपप्रमुख आचार्यले जानकारी दिए । विवाद समाधान नहुँदा ती क्षेत्रहरू विकासमा पनि पछि पर्ने भएकाले छिटो विवाद समाधान गर्छौँ सीमा विवाद समाधान समितिका सदस्यसमेत रहनुभएकी उपप्रमुख आचार्यले भने । धार्मिक क्षेत्र जलजलालाई पनि जिल्लाका तीन स्थानीय तह रोल्पा नगरपालिका, सुनछहरी र थवाङ गाउँपालिकाले आफ्नो दाबी गर्दै आउँदा समय–समयमा विवाद देखिने गरेको छ ।
पोखराका व्यस्त सडकमा ‘पार्किङ ’ गर्न रोक कास्की। पोखराका मुख्य बजारका सडक छेउमा सवारी पार्किङ निषेध गरिने भएको छ। पोखरा महानगरपालिकाले सोमबार एक सूचना जारी गर्दै बजारका मुख्य स्थानमा पार्किङ निषेध गर्ने निर्णय गरेको सूचना सार्वजनिक गरेको हो। महानगरपालिकाले मुख्य सहरी क्षेत्रको पृथ्वीचोक-सभागृहचोक, न्यूरोड, विपीचोक, चिप्लेढुङ्गा, महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक सडकखण्डमा यही माघ २३ गते सोमबारदेखि पूर्णरूपमा पार्किङ निषेध गर्ने निर्णय गरेको हो। “मुख्य सहरी क्षेत्रको सडकमा सवारीको चाप वृद्धि भई आवागमनमा समेत प्रत्यक्ष असर हुनुका साथै सहरी सौन्दर्यीकरणमा पनि असर पर्न गएको हुँदा उल्लेखित स्थानको सडक क्षेत्रमा पूर्णरूपमा पार्किङ निषेध गरिएको छ”, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले भने। महानगरले ‘अन्डरग्राउण्ड’ पार्किङ तथा मुख्य सडकका आसपासमा पार्किङ प्रयोजनका लागि सम्याइएका खाली जग्गामा पार्किङ गर्न सकिने र ती स्थानमा पार्किङ गरेवापत महानगरले तोकेको शुल्कभन्दा बढी लिन नपाइने पनि सूचनामा उल्लेख छ। सूचनामा तोकिएको क्षेत्रहरूमा मात्र ‘पार्किङ’ व्यवस्थापन गर्न सम्पूर्ण सरोकारवालामा आग्रह गरेको छ।
आइस्पानको अध्यक्षमा पुनः पराजुली चयन काठमाडौं। इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान) को अध्यक्षमा सुधीर पराजुली पुनः चयन भएका छन्। आइस्पानको सोमबार सम्पन्न भएको २२औं वार्षिक साधारण सभाबाट पराजुली सर्वसम्मत रुपमा अध्यक्षमा पुनः चुनिएका हुन्। यसैगरी, उपाध्यक्षमा मनोज अग्रवाल, महासचिवमा नविन कुमार श्रेष्ठ, सचिवमा भने सुरेन क्षेत्री र कोषाध्यक्षमा पुष्कर बडाल चयन भएका छन्। कार्यकारी सदस्यहरुमा कमल बास्तोला, सुदीप आचार्य, मधु अमात्य र सुजन थापा निर्वाचित भएका छन्।
धनकुटा महोत्सवबाट करोडौँको व्यापार धनकुटा। रु सात करोडको कारोबार गर्दै पाँचौँ प्रादेशिक औद्योगिक व्यापार तथा कृषि मेला एवं धनकुटा एभोकाडो महोत्सव सकिएको छ। उद्योग वाणिज्य सङ्घ धनकुटाको आयोजनामा माघ ६ गतेदेखि १६ गतेसम्म चलेको महोत्सवको धनकुटा प्रदेश नं ‘१’ का प्रदेशसभा सदस्य नीरन राईले आज समापन गरेका छन्। आजसम्म चल्ने उक्त महोत्सव थप दुई दिन समय थप्ने तयारी भए पनि १४ गते राति गायक प्रमोद खरेलको ‘कन्सर्ट’ हेर्न आउने भीडले किचेर ३० जना घाइते भएपछि महोत्सवको आज विधिवत् रूपमा समापन गरिएको हो। एक सय ८० स्टल रहेको महोत्सवमा रु सात करोड बराबरको कारोबार भएको आयोजक संस्थाका अध्यक्ष विजय सन्तोषी राईले जानकारी दिए।
छेडागाडका मेयरले बनाएनन् नलगाडको स्वास्थ्य भवन सुर्खेत। जाजरकोट नलगाड नगरपालिकामा निर्माण हुन लागेको नगर अस्पतालको भवन अलपत्र परेको छ। छेडागाड नगरपालिकाका नगरप्रमुख रत्नबहादुर खड्काले १८ करोडमा लिएको उक्त ठेक्काको काम नगर्दा अलपत्र परेको हो। स्वास्थ्य भवनको सम्झौता मिति २०७८ असोज २२ गते रहेको थियो। २०८० असार १५ गते सम्मा सम्पन्न गरेर हस्तान्तरण गर्नुपर्ने भनि सम्झौतामा उल्लेख गरिएको छ। पहिलो किस्तामा २ करोड ८६ हजार रुपैयाँ नगरपालिकाबाट लिइएको र दोस्रो पटक १ करोड ९९ लाख ९९ हजार ९९९ रुपैयाँ लिइसकेका छन्। प्रेरा खडका कृष्ण क्याराभान जेभी काठमाडौँको नाममा भुक्तानी भएको छ। तोकिएकै समयमा स्वास्थ्य संस्थाको भवन निर्माण नहुँदा यहाँ दैनिक आउने विरामी तथा सेवाग्रहीलाई सेजा लिन समस्य भएको नलगाड नगरउपप्रमुख सरिता सिंहले गुनासो गरिन्। ठेक्काका कामहरु लिने तर समयमा कत्तैपनि निर्माण नगर्ने परिपार्टीका कारण दैनिक समस्य हुँदै आएको छ। ठेक्का लिएको काम समयमा नगर्दा समस्य भएको भन्दै उपप्रमुख सिंहले प्रदेशसभा सदस्य बेदराज सिंहलाई निर्माण व्यवसायी तथा छेडागाडका नगरप्रमुखलाई निर्माण गर्ने काममा लाग्न समेतको लागि सहजीकरण गरिदिन आग्रह गरिएको छ। दुइ वर्ष अघि नगर अस्पताल निर्माणका लागि बोलपत्र आवह्वान गरिएको थियो। नगर अस्पतालको जग मात्र खडा गरिएको अवस्थामा रहेको छ। संरचना निर्माण गर्ने समय सम्मा निर्माणको काम सुरु नहुँदा सबै भन्दा बिडम्वना रहेको रहेको सरोकारवाला निकायले बताएका छन्। नगरपालिकाबाट पटक पटक काममा आउन आग्रह गरिएपनि नगरप्रमुख खड्काले हुन्छ भन्ने तर काममा नआउने कार्यले गर्दा समस्य हुँदै आएको उपप्रमुख सिंहले पीडा सुनाइन्। संघीय सरकारबा प्राप्त रकमबाट उक्त भवन निर्माण गर्न लागिएको हो। नेपाली कांग्रेसबाट छेडागाड नगरपालिकामा नगरप्रमुखमा रहेका खड्को नलगाड जलविद्युत आयोजनाको पहुँच मार्गमा निर्माण गर्ने भनिएको पुल समते सात वर्ष सम्मा निर्माण नगरेका हुन्। खारा स्थित नलगाड नदीमा निर्माण हुने उक्त पुल निर्माण नगरी अलपत्र भएको हो। पटक पटक आयोजनाले पुल निर्माण गर्न आग्रह गरिएको भएपनि मेयर खड्काले अटेरी गरी काम नगरेको आयोजनाको दावी रहेको छ। पुल निर्माणको काम लामो समय देखि अलपत्र पर्दा यस क्षेत्रका अधिकांश विकासे कामहरु अलत्रप भएका छन्। अहिले नलगाड नदीमा काठको लाप्को लगाएर वारपार गराउने काम हुँदै आएको छ।
सीतापाइला दुर्घटनामा घाइते भएका अर्काएक जनाको मृत्यु काठमाडौँ । काठमाडौँ महानगरपालिका–१३ सीतापाइलास्थित सडकमा आज भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएका अर्का एकको पनि मृत्यु भएको छ । योसँगै उक्त दुर्घटनामा मृत्यु हुने दुई पुगेका छन् । अन्य तीनजना घाइते भएको महानगरीय प्रहरी वृत्त कालीमाटीले जनाएको छ । आज बिहान बा२ख ८३६८ नंको बस र ना१ज २४२१ नंको सुमो गाडी एकापसमा ठक्कर खाँदा बसमा सवार रसुवा गोसाइँकुण्ड गाउँपालिका–६ घर भई हाल काठमाडौँको पुतलीसडक बस्ने ५२ वर्षीया यायाल्म घलेको मृत्यु भएको थियो । पछि उपचारका क्रममा बसका सहचालकको मृत्यु भएको प्रहरी वृत्त कालीमाटीका प्रहरी नायब उपरीक्षक अनिलकुमार घिमिरेले जानकारी दिए । साथै दुर्घटनामा बसमा सवार तीनजना घाइते भएका छन् । सुमोका चालकलाई नियन्त्रणमा लिइएको र हाल फरार बस चालकको खोजी जारी रहेको घिमिरेले जानकारी दिए ।
बागमती प्रदेशका मुख्य न्यायाधिवक्ताद्वारा शपथ मकवानपुर । बागमती प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता ज्ञानेन्द्र नेपालले आज यहाँ पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उच्च अदालत पाटनका मुख्य न्यायाधीश महेश पुडासैनीले प्रदेश प्रमुख यादवचन्द्र शर्माको उपस्थितिमा मुख्य न्यायाधिवक्ता नेपाललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । नेपालले प्रदेश प्रमुखको कार्यालय बागमतीमा आयोजित एक समारोहबीच मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका शर्तसम्बन्धी ऐन, २०७५ को दफा १४ बमोजिम शपथ ग्रहण गरेको प्रदेश, प्रदेश प्रमुखको कार्यालय हेटौँडाले जनाएको छ । शपथ ग्रहण समारोहमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेल र अन्य मन्त्रीहरु उपस्थित थिए । मुख्यमन्त्री जम्मकट्टेलले नेपाललाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन्
भूकम्पको हल्लाले कर्णालीवासी रातभर जाग्राम मुगु। कर्णालीमा भूकम्प आउने हल्ला फैलिएपछि आइतबार रातभर कर्णाली प्रदेशका जुम्ला, मुगु, हुम्ला र बाजुराका बासिन्दा बाहिर बसेका छन्। भूकम्पको हल्ला फैलिएपछि यहाँका स्थानीय घर छाडेर खेतबारी र सडक, विद्यालय चौरमा बस्न बाध्य भएका हुन् । भूकम्प आउँदै छ भन्ने हल्ला चलेपछि कठ्यांग्रिदो चिसोमा मानिसहरू बाहिर बसेका थिए। मुगु सदरमुकाम गमगढीवासी र आसपासका गाउँ चैन, ढुम, तुम, भामबाडा, छत्यालबाडा, कार्कीबाडा थार्प, घट्टलेख, सोरु गाउँपालिका लगायत छायाँनाथ रारा नगरपालिकावासी भूकम्प आउने हल्लाले रातभर घर बाहिर जाग्राम बसेका हुन्। जिल्ला प्रहरी कार्यालय मुगुले अफवाह र हल्लाको पछि नलाग्न आग्रह गरेको डिएसपी सुवास हमालले बताए।
ग्वार्काेमा कार र ट्याक्सी ठोक्किँदा २ जनाको मृत्यु, ६ जना घाइते ललितपुर। ललितपुरको ग्वार्काेमा कार र ट्याक्सी आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। ग्वार्कोस्थित बि एण्ड बि अस्पताल नजिकै आइतबार राति कार र ट्याक्सी आपसमा ठोक्किँदा घाइते भएका आठजनामध्ये दुई जनाको मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। दुर्घटनामा ट्याक्सीमा सवार ६ जना र कारमा सवार दुईजना गरी आठजना घाईते भएका थिए। तर, ट्याक्सीमा सवार सुनसरीका सरोज कुमार विक र कारमा सवार मोरङका धनबहादुर बस्नेतको उपचारको क्रममा बि एण्ड बि अस्पताल मृत्यु भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। बाँकी घाइतेहरूको सोही अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये कार चालक झापाको विर्तामोडका ३५ वर्षीय वीरबहादुर विकको अवस्था भने गम्भीर छ। ग्वार्कोबाट सातदोबाटोतर्फ आउँदै गरेको बा २ ज ३४२० नम्बरको ट्याक्सी र विपरीत दिशाबाट जाँदै गरेको बा ४ च १ नम्बरको कार आइतबार मध्यराति साढे १२ बजे आपसमा ठोकिएको थियो । कार चालक विकले मदिरा पिएको खुल्न आएको प्रहरीले जनाएको छ ।
पर्खाल भत्काएर हिरासतबाटै ६ जना थुनुवा फरार काठमाडौं। आइतबार राति पर्खाल भत्काएर हिरासतबाटै ६ जना थुनुवा फरार भएका छन्। ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतमा रहेका ६ जना थुनुवा पर्खाल भत्काएर फरार हुन् । विभिन्न अभियोगमा प्रहरी हिरासतमा रहेका उनीहरू पर्खाल भत्काएर फरार भएको प्रहरीले जनाएको छ। लागूऔषध मुद्दामा प्रहरी हिरासतमा रहेका धनुषा क्षिरेश्वरनाथ नगरपालिका ५ का बिनोद कुमार शर्मा, राष्ट्र सेवक कर्मचारीको काममा बाधा अवरोध गरेको मुद्दामा क्षिरेश्वरनाथ नगरपालिका २ का अमित मण्डल र सोही मुद्दामा प्रहरी हिरासतमा रहेका रोशन यादव फरार भएका हुन्। त्यस्तै अभद्र व्यवहार मुद्दामा थुनामा रहेको मिथिला नगरपालिका २ हरिदिप सिंह, हातहतियार तथा खरखाजाना मुद्दामा मिथिला नगरपालिका ६ रोशन महतो र सोही मुद्दाका थुनुवा शंकर सिंह फरार भएका छन्।
बन्दीपुर क्षेत्रका ‘होर्डिङबोर्ड हटाइँदै दमाैली। तनहुँको पर्यटकीय नगरी गण्डकी प्रदेशकै पर्यटकीय गन्तव्यको सूचीमा पर्दछ। यहाँ स्वदेशी मात्र नभई विदेशी पर्यटकको बाक्लै चहलपहल हुन्छ। नेपाल आएकामध्ये पर्यटक बन्दीपुर पनि आउने गरेको व्यवसायीको भनाइ छ। बन्दीपुरलाई पर्यटकीय हिसाबले सुन्दर बनाउन गाउँपालिका जुटेको छ। बन्दीपुरको सुन्दरता कायम गर्नका लागि बन्दीपुर गाउँपालिकाले बजार क्षेत्रमा मापदण्डविपरीत राखिएका ‘होर्डिङबोर्ड’ हटाउन सुरु गरेको छ। बन्दीपुरको सुन्दरतालाई कायम राख्न मापदण्डविपरीत राखिएका होर्डिङबोर्ड हटाउन थालिएको हो। गाउँपालिकाको मापदण्ड अनुसारको बोर्ड भने राख्न पाइने प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए। साथै बजारमा नियमविपरीत अव्यवस्थितरुपमा राखिएका टेवल कुर्ची तथा व्यापारिक प्रयोजनका सामग्री हटाई व्यवस्थित गर्न आग्रह गरिएको उनले बताए। “सम्बन्धित होटल व्यवसायीकै उपस्थितिमा मापदण्डविपरीतका राखिएका होर्डिङबोर्ड हटाउन थालेका छौँ, जथाभावीरुपमा राखिएका होर्डिङबोर्डले बजार नै कुरुप देखिने अवस्था आएको थियो”, गाउँपालिकाका प्रवक्ता श्रेष्ठले भने। देश तथा विदेशबाट बन्दीपुर आउने पर्यटकलाई बन्दीपुरको सुन्दरता देखाउने अभियानमा लागिएको उनले बताए। गाउँपालिकाको सो अभियानमा स्थानीयवासीले सहयोग गरेका छन्। बन्दीपुरको सौन्दर्यतालाई कायम राख्नका लागि गाउँपालिकाले होटल अगाडि मासु पोल्न र चुलो बनाउन प्रतिबन्ध लगाएको छ। बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले बन्दीपुरको मुख्य बजारको सौन्दर्यका लागि यो निर्णय सकारात्मक रहेको बताए। गाउँपालिकाले सम्बन्धित होटल व्यवसायीले पसल बाहिर सामग्री राखी बिक्री वितरण गर्न रोक लगाएको छ। सडक र सडक पेटीमा व्यवसायीले गाउँपालिकाले तोकेको मापदण्ड र स्थानमा मात्र सामान राखी बेच्न पाउने निर्णय भएको छ। त्यस्तै गाउँपालिकाले तोकेको स्थानीय मापदण्डबमोजिम बढीमा दुई वटा टेबल र प्रतिटेबल तीन वटा कुर्चीसम्म राखी मदिराजन्य र धुम्रपान गर्न नपाइने गरी उक्त टेबल कुर्चीको व्यवस्थापन बजारको सौन्दर्यतालाई अझ सुन्दर बनाउने गरी प्रयोग गर्ने निर्णय गरेको छ। प्रत्येक होटल व्यवसायीले मूल्यसूची ग्राहकले देख्ने ठाउँमा अनिवार्य राख्न, बन्दीपुर आउने पर्यटकलाई ताजा र सफा खानाको मात्र व्यवस्था गर्न, बजारमा रङरोगनलगायत स्वरुप परिवर्तन गर्न परेमा गाउँपालिकासँग समन्वय गर्न र बन्दीपुर बजार संरक्षित क्षेत्रको संरक्षण गर्न गाउँपालिकाले आग्रह गरेको छ। बन्दीपुर स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा पर्दै जान थालेको छ। बन्दीपुरमा अरु दिनको तुलनामा बिदाको दिनमा पर्यटकको चाप बढी हुन्छ। सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दिपुर पुगिन्छ। जहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ। प्राकृतिक सुन्दरता बोकेको बन्दिपुरबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरिलगायतका हिमशृङ्खला देखिने भएकाले यहाँ पुग्ने जो कसैको मन लोभिने व्यवसायी वसन्त पौडेलले बताए। भक्तपुरे शैलीमा निर्माण गरिएको घर, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायतका स्थल यहाँ आउने पर्यटकको पहिलो रोजाई बन्ने गरेको छ। बन्दीपुरमा होटल सङ्घसँग आबद्ध साना ठूला गरी ७७ होटल सञ्चालनमा छन्। बन्दीपुरमा रहेका परम्परागत घरका कारण यहाँको पर्यटनमा टेवा मिलेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए। अठाऔँ शताब्दीमा भक्तपुर र बनेपाबाट आएका नेवारले भक्तपुरे शैलीमा घर र ढुङ्गा बिछ्याइएको बाटो निर्माण गरेको स्थानीय बताउँछन्। बन्दीपुरमा अहिले पनि घर निर्माणमा मौलिकता अपनाउने गरिएको छ। रासस
हिमपातले सेताम्य राराताल क्षेत्र मुगु। गत मंगलबार बिहानैदेखि कर्णालीका उच्च भेगमा हिमपात हुन थालेको छ। राराताल क्षेत्रमा हिमपात हुँदा ताल झनै आकर्षक बनेको छ। आकर्षक पर्यटकीय गन्तव्य रहेको सो क्षेत्रमा भएको हिमपातले यहाँको दृश्य निकै मनमोहन बनेको छ। त्यहाँ पुगेर हिउँ खेल्न आन्तरिक तथा बाह्य पर्यटकको घुइचो लागेको छ। चिसोको प्रवाह नगरी रारा जाने क्रम जारी छ। रारा वरपर दुई फिटसम्म हिउँ जमेको छ। यस वरिपरिका रुखर बिरुवाहरु हिउँले फुलेका छन्। रारा क्षेत्रवरपर जताततै सेताम्य देखिन्छ। भारी हिमपात भएपछि तालको छेउमा सेतो सिरक राखेजस्तै देखिन्छ। राराले खैरो, बैजनी र नीलो गरी दिनमै तीन पटकसम्म आफ्नो रुप बदल्दा सेतो हिउँले यसमा झनै आकर्षण थपेको छ। जाडो समयमा रारा हेर्न आएका आन्तरिक पर्यटक राम शाहले राराको यस सिजनको दृश्य भाग्यमानीलाई मात्र हेर्न अवसर जुर्ने प्रतिक्रिया दिए। मुर्मा टपसम्म पुगेर सेताम्मे रारादेखि वारिपारिको बस्तीको दृश्यावलोकन गर्न सकिने भएकाले यो मौसम रारा भ्रमणका लागि उपयुक्त हुने पर्यटकको भनाइ छ। रारा क्षेत्रफलका पाँच किलोमिटर लम्बाइ, करिब तीन किलोमिटर मिटर चौडाइ र १६७ मिटर गहिराइ रहेको छ। रारामा विश्वमा दुर्लभ असला जातका माछा, रानी ट्राउट भ्यागुतो र तीन सय प्रजातिका चरा पाइन्छन्। कस्तुरी, रेडपाण्डा, मृग, घोरल, भालु, रतुवालगायत वन्यजन्तु अवलोकनका लागि रारा क्षेत्र महत्वपूर्ण मानिँदै आएको रारा राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ। रासस
बन्दीपुरको ‘मिनी ग्रेटवाल’ हेर्न पर्यटकको आकर्षण बढ्दो तनहुँ। बन्दीपुर गाउँपालिका–२ स्थित थानीमाई मन्दिरबाट सुरु गरिएको ‘मिनी ग्रेटवाल’ को हालसम्म एक हजार तीन सय मिटर दूरी निर्माण कार्य सम्पन्न भएको छ। प्राकृतिक दृश्यावलोकन र सुन्दरताका कारण ‘पहाडकी रानी’ उपनामले प्रसिद्धी कमाएको बन्दीपुरमा करिब दुई किलोमिटर दूरीको लामो ‘मिनी ग्रेटवाल’ निर्माण गर्ने योजनाअनुरूप निर्माण कार्य अघि बढाइएको हो। चीनको जस्तै झझल्को दिने गरी मिनी ग्रेटवाल निर्माण कार्य अघि बढाइएको हो। बन्दीपुर गाउँपालिका कार्यालयले सुरुमा रु एक करोड खर्च गरी निर्माण गरेको मिनी ग्रेटवाल पर्यटकको पहिलो आकर्षण बन्ने विश्वास गरिएको छ। चालु आवमा पनि रु ३७ लाख बजेट विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए। कश्याप कन्स्ट्रक्सन प्रालिले निर्माणको ठेक्का पाए पनि निर्माण कार्यमा ढिलासुस्ती हुँदो लक्ष्यअनुरूपको काम हुन नसकेको अध्यक्ष थापाले बताए। अन्य दिनमा करिब एक सय जनाको हाराहारीमा आन्तरिक एवं बाह्य पर्यटक घुम्न आउने गरे पनि बिदाको दिनमा दुई सयदेखि तीन सयसम्म हुने गरेको उनले बताए। “हालसम्म निर्माण गरिएको मिनी ग्रेटवाल फिनिसिङ कार्य सम्पन्न गरेर मात्रै नयाँ ग्रेटवाल निर्माण गर्ने योजना बनाएका छौँ”, उनले भने, “अब निर्माण गरिने क्षेत्रमा भौगोलिक दृष्टिकोणले अप्ठ्यारो रहेकाले निर्माण कार्य पनि ढिलाइ हुने देखिएको छ।” उक्त दूरीको मिनी ग्रेटवाल फिनिसिङपश्चात् गाउँपालिकाले छलफल गरी टिकट शुल्क कायम गरेर मात्रै पर्यटकलाई प्रवेश अनुमति दिने लक्ष्य बनाएको छ। कूल लागत रु सात करोड रहेकाले बहुवर्षीय कार्यक्रमअन्तर्गत योजनाअनुरूप निर्माण कार्य अघि बढाइएको उनले बताए। नेपाल सरकारको रु चार करोड ५५ लाख र बन्दीपुर गाउँपालिकाको रु दुई करोड ४५ लाख साझेदारी रहेको सो गाउँपालिकाले जनाएको छ। उक्त विनियोजित बजेटले पर्खाल निर्माण गर्ने, पार्क, कफी शप, होटललगायतका संरचना निर्माण गर्ने योजना छ। दुईतिर पर्खाल लगाउने र बीचमा आकर्षक सिँढी निर्माण गरी दायाँबायाँ आकर्षक बत्ती जडान गर्ने योजना रहेको उनले बताए। मुकुन्देश्वरी डाँडामा तत्कालीन राजा मुकुन्द सेनले शासन गरेको किंवदन्ती रहेको पाइन्छ। मिनी ग्रेटवालभित्र रहेको पदमार्गमा घोडाबाट र साइकलबाट सवार गर्न सकिने छ। काठमाडौँ, पोखरा र सौराहा जस्ता पर्यटकीय केन्द्रका बीचमा रहेको बन्दीपुरलाई पनि पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास गर्न सकिने प्रचुर सम्भावना रहेको छ। जिल्लाको डुम्रे बजारबाट नौ किलोमिटर नागबेली उकालो यात्रा तय गरेपछि बन्दीपुर पुग्न सकिन्छ। यहाँबाट मनोरम हिमशृङ्खला, पहाड र टाकुरा अवलोकन गर्न सकिने हुनाले यहाँ पुग्ने जो कोही पर्यटक लट्ठै हुने गर्दछन्।
जनप्रतिनिधि र कर्माचारीको विवादले नगरपालिकाको कामकाज ठप्प! सर्लाही। कर्मचारी र जनप्रतिनिधिबीच विवाद भएपछि सर्लाहीको हरिपुर्वा नगरपालिका अनिश्चितकालका लागि बन्द भएको छ। बिहीबार जनप्रतिनिधि र कर्मचारीबीच सामान्य विषयमा विवाद भएको र त्यस लगत्तैदेखि अनिश्चितकालका लागि नगरपालिकाको सम्पूर्ण कामकाज ठप्प भएको हो। केही वडाध्यक्षहरूले बिहीबार प्रमुख प्रशासकीय अधिकृत वसन्तकुमार न्यौपानेलाई गालीगलौजसहित दुव्र्यवहार गरेको भन्दै कर्मचारीले नगरपालिकाको सम्पूर्ण कामकाज अनिश्चितकालका लागि बन्द गरेको हरिपुर्वा नगरपालिकाका प्रमुख विनोदकुमार साहले बताए। उनका अनुसार केही वडाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत न्यौपानेबीच सामान्य विवाद भएको थियो। नगरकार्यपालिकाले भर्ना कार्यविधि तथा छनोट समिति बनाएर चालक, कार्यालय सहयोगी र सरसफाइकर्मी गरी करिब ३५ जनाको लागि आवेदन खुलाएको थियो। करिब तीन सय जनाले आवेदन दिएका र त्यसबाट खुला प्रतिस्पर्धाबाट करिब ३५ जना छनोट गरिएको थियो। त्यस क्रममा हरिपुर्वा नगरपालिका–३ का वडाध्यक्ष प्रमोद यादवले आफ्नो मान्छे नपरेको भन्दै प्रमुख प्रशासकीय अधिकृत न्यौपानेसँग रुष्ट थिए। प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले नमानेपछि विवाद सिर्जना भएको र जसका कारण नगरपालिकाका सम्पूर्ण कर्मचारीले नगरपालिकामा ताला लगाएर कामकाज अनिश्चितकालका लागि ठप्प पारेका छन्। कर्मचारीले दोषी वडाध्यक्षमाथि कारबाहीको माग गर्दै अनिश्चितकालका लागि नगरपालिकाको सबै कामकाज ठप्प पारेको प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले बताए। नगरपालिकाको कामकाज अनिश्चितकालका लागि ठप्प भएपछि सेवाग्राही मारमा परेको स्थानीय वीरेन्द्रकुमार अधिकारीले बताए। उनका अनुसार हरिपुर्वा नगरपालिकामा यसअघिका जनप्रतिनिधको पाँचवर्षे कार्यकाल विवादै–विवादमा बिताएका थिए। नयाँ जनप्रतिनिधि आएपछि पनि उस्तै प्रकारको कलह देखिएको अर्का स्थानीय राधेश्याम रायले बताए। उनका अनुसार बजेट बाँडफाँटमा भागबण्डा नमिल्दा असारमै पास गर्नुपर्ने बजेट नगरपालिकाले एक महिनाअघि मङ्सिर अन्तिममा पारित गरिएको थियो। जनप्रतिनिधिबीच राजनीतिक सहमति हुन नसक्दा कर्मचारी चेपुवामा परेका प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले बताए। नगरप्रमुख साह अल्पमतमा रहँदा अहिलेका जनप्रतिनिधिको कार्यकाल पनि यसरी विवाद गरेर बित्ने सङ्केत देखिएको भन्दै हरिपुर्वाका स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन्। जनप्रतिनिधि मिल्न नसक्दा हरिपुर्वामा विकासले गति लिन सकेको छैन। जनप्रतिनिधिबीचको विवादका कारण कर्मचारीले यसरी बर्सेनि दुव्र्यवहार सहिरहनुपरेको अर्का कर्माचारी सुनिलकुमार रायले बताए। यता प्रमुख प्रशासकीय अधिकृत न्यौपाने र नगरप्रमुख साह मिलेर आर्थिक चलखेल गरी आफ्ना मान्छेमात्रै छनोट गराएका कारण आफूहरूले त्यसको विरोध गरेको हरिपुर्वा नगरपालिका वडा नं ३ का वडाध्यक्ष प्रमोद यादवले बताए। उनले आफूहरूले प्रमुख प्रशासकीय अधिकृत न्यौपानेमाथि कुनै पनि दुव्र्यवहार नगरेको बताए।
वीरेन्द्रकुमार ठाकुर मधेश प्रदेशको मुख्य न्यायाधिवक्ता जनकपुरधाम । नवनियुक्त मधेश प्रदेशको मुख्य न्यायाधिवक्ता वीरेन्द्रकुमार ठाकुरले पद तथा गोपनीयताको शपथ लिएका छन् । उच्च अदालत जनकपुरका कामु मुख्य न्यायाधीश गुणराज ढुंगेलबाट उनले पद तथा गोपनीयताको शपथ लिएका हुन् । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले ठाकुरलाई मधेश प्रदेशको मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका थिए ।
मधेस प्रदेशमा सबैभन्दा धेरै कुष्ठरोगी काठमाडौँ। ‘कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौँ’ भन्ने मुख्य नाराका साथ आज ७०औँ विश्व कुष्ठरोग दिवस कार्यक्रम विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ। कुष्ठरोग आँखाले देख्न नसकिने ‘माइको व्याक्टेरियम लेप्रे’ नामको सुक्ष्म किटाणुबाट लाग्ने एक प्रकारको ज्यादै कम सर्ने रोग हो। धेरै मानिसलाई कुष्ठरोगको पहिलो लक्षणको रुपमा छालामा फिक्का दाग आउनु वा औँलाहरु सुनिने गर्दछ। चिकित्सकका अनुसार कुष्ठरोगले मुख्यतया स्नायु र छालालाई असर गर्दछ। समयमा उपचार नगरिएमा, यसले स्नायु क्षति, अनुभूति (सनसनी) गुमाउने र हात, खुट्टा र अनुहारको मांसपेशिको पक्षाघात गराउन सक्छ। विश्वका सय भन्दा बढी देशमा वार्षिक दुई लाखभन्दा बढी व्यक्तिलाई कुष्ठरोगको लक्षण देखिने गरेको छ। सरकारले सन् २०१० को जनवरीमा कुष्ठरोग निवारण भएको घोषणा गरे पनि अहिलेसम्म नेपालमा पूर्ण रुपमा कुष्ठरोग निवारण भने भइसकेको छैन। आर्थिक वर्ष २०७९/८० मा नेपालमा दुई हजार २८५ नयाँ कुष्ठरोगका बिरामी भेटिएका छन्। नयाँ भेटिएका बिरामीमध्ये मधेस प्रदेशमा सबैभन्दा धेरै कुष्ठरोगका विरामी रहेका छन्। सरकारी तथ्याङ्कअनुसार मधेस प्रदेशमा नौ सय १० जना, लुम्बिनी प्रदेशमा पाँच सय ८१ जना, प्रदेश नं १ मा तीन सय ४५ जना, सुदूरपश्चिम प्रदेशमा दुई सय पाँच जना, कर्णाली प्रदेशमा ६८ जनालाई कुष्ठरोग भेटिएको छ। गण्डकी र बागमती प्रदेशमा भने अन्य प्रदेशको तुलानामा कुष्ठरोगीको सङ्ख्या कम रहेको छ। १६ जिल्ला अझै कुष्ठरोग मुक्त हुन बाँकी रहेको छ । जसमा झापा, मोरङ, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, परासी, रुपन्देही, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र अछाम रहेका छन् । मधेस प्रदेशको सप्तरीबाहेक सबै जिल्लामा अहिले कुष्ठरोगका बिरामी रहेको तथ्याङ्क छ। नेपालमा रहेका कूल कुष्ठरोगीमध्ये मधेस प्रदेशमा मात्र ४० प्रतिशत कुष्ठरोगी भेटिएका हुन्। मधेस प्रदेशमा धेरै कुष्ठरोगी भेटिएसँगै यतिबेला कुष्ठरोगसँग काम गर्ने सरकारी तथा गैरसरकारी संस्था मधेस केन्द्रित हुन थालेका छन्। सन् १९७५ देखि नेपालको कुष्ठरोग क्षेत्रमा काम गर्दै आएको एनआरएल नेपालले अहिले मधेस प्रदेशको महोत्तरी र धनुषा जिल्लामा कुष्ठरोगको क्षेत्रमा काम गर्दै आएको छ। एनआरएल नेपालले कुष्ठरोग नियन्त्रण (पेप प्लस प्लस) कार्यक्रमअन्तर्गत महोत्तरी र धनुषा जिल्लाका ३३ स्थानीय तहमा कुष्ठरोगका बिरामीसँगका सम्पर्क व्यक्तिको पहिचान गर्नुका साथै उनीहरुलाई सचेतनामूलक कार्यक्रम तथा औषधि वितरण गर्दै आएको छ। एनआरएल कुष्ठरोग नियन्त्रण कार्यक्रमका संयोजक डा रविन्द कुशवाह अहिलेसम्म महोत्तरीका पाँच र धनुषाका चार स्थानीय तहका पाँच हजार सात सय ९५ सम्पर्क व्यक्तिलाई औषधि वितरण गरिसकेको बताउँछन्। “महोत्तरी र धनुषामा रहेका कुष्ठरोगी र उनीहरुका सम्पर्क व्यक्तिको पहिचान गरी उनीहरुलाई कुष्ठरोग लाग्न नदिन औषधि खानका लागि सल्लाह दिँदै औषधीसमेत वितरण गर्दै आएका छौँ”, उनी भन्छन्। एनआरएल नेपालका कार्यकारी निर्देशक विकासमान सिंह कुष्ठरोग मुक्त नेपाल घोषणा गर्ने लक्ष्यका साथ एनआरएल नेपालले काम गर्दै आइरहेको बताउँछन्। कार्यकारी निर्देशक सिंह धनुषा र महोत्तरीमा कुष्ठरोगी र उनीहरुका सम्पर्क व्यक्तिको पहिचान गरी चार लाखभन्दा बढी व्यक्तिलाई औषधि वितरण गर्ने लक्ष्यका साथ एनआरएलले काम गरिरहेको बताउँछन्। “एनआरएलले स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयम्सेविकासँग सहकार्य गरेर कुष्ठरोगी र उनीहरुको सम्पर्क व्यक्तिको पहिचान गरी औषधि प्रदान गर्दै आइरहेको छ”, उनी भन्छन्। कुष्ठरोगको क्षेत्रमा काम गर्दै आएको अर्को संस्था द ल्याप्रोसी मिसन नेपालले मधेस प्रदेशको बारा, पर्सा र रौतहटमा कुष्ठरोगको क्षेत्रमा काम गर्दै आएको छ। मिसनका कार्यक्रम निर्देशक यामनाथ योगी तीनै सरकारको सहकार्यमा मिसनले कुष्ठरोग रोकथामको क्षेत्रमा तीन जिल्लामा काम गर्दै आएको बताउँछन्। यसबाहेक उक्त मिसनले ललितपुरको गोदावरी नगरपालिका–५ लेलेस्थित आनन्दवन अस्पताल समेत सञ्चालन गरी कुष्ठरोग निवारणको क्षेत्रमा काम गर्दै आएको छ। मधेस प्रदेशमा कुष्ठरोगका बिरामी बढी देखिएपछि यसको उपचार तथा रोकथाममा मधेस प्रदेशले पनि चासो देखाएको छ। मधेस प्रदेशमा कुष्ठरोगका बिरामी उपचार गर्नका लालगढ कुष्ठरोग अस्पताल तथा सेवा केन्द्र रहेको छ। उक्त अस्पताल नेपाल लेप्रोसी ट्रष्टअन्तर्गत समाज कल्याण परिषद्मा दर्ता भएर सञ्चालनमा रहेको हो। मधेस प्रदेशका सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शाखा प्रमुख डा मुक्तिनारायण शाह कुष्ठरोगका बिरामी पत्ता लगाउन तथा उपचार गर्न लालगढ कुष्ठरोग अस्पताल तथा सेवा केन्द्रको सहयोगमा हरेक जिल्लामा महिनाको एक दिन कुष्ठरोगको शिविर सञ्चालन गर्न लागिएको बताउनुहुन्छ । लालगढ कुष्ठरोग अस्पताल तथा सेवा केन्द्रले अहिले दैनिक चारसय छालाका रोगी तथा कुष्ठरोगीको उपचार गर्दै आएको छ। अस्पतालका उपनिर्देशक कृष्णबहादुर तामाङ ९२ शैयामार्फत लालगढ अस्पतालले छाला तथा कुष्ठरोगीका बिरामीको उपचार गर्दै आइरहेको बताउँछन्। “लालगढ अस्पताल आउने बिरामीमध्ये ८० प्रतिशत नेपाली र २० प्रतिशत भारतीय रहेका छन्”, उनी भन्छन्। लालगढ अस्पतालका तालिम अधिकृत अरविन्द शाह खुला सिमानाका कारण भारतबाट धेरै बिरामी लालगढ अस्पतालमा उपचारका लागि आउने गरेको बताउँछन्। कुष्ठरोगको लक्षण देखिएका मानिसले समयमै उपचार गरे भयावहको स्थिति सिर्जना नहुने उनको भनाई छ। मधेस प्रदेश स्वास्थ्य निर्देशनालयका कुष्ठरोग, क्षयरोग तथा एचआईभी एड्स शाखाका प्रमुख राजवीर यादव तीनै तहको सरकार र विभिन्न गैरसरकारी संस्था मिलेर काम गर्नसके कुष्ठरोगलाई मधेसबाट चाँडो निवारण गर्न सकिने बताउँछन्। कुष्ठरोग नियन्त्रणका लागि राजनीतिक प्रतिबद्धताको खाँचो रहेको उनको भनाइ छ। कुष्ठरोग निवारणका लागि मधेस प्रदेशले वार्षिक वजेट विनियोजन गरेर काम गरिरहेको उनी बताउँछन्। – रासस
बचत अपचलनमा मुछिएका सहकारीका अध्यक्ष विरुद्ध ठगी कसुरमा कारबाही गर्न निर्देशन खोटाङ। प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय सुनसरीले खोटाङको लालुपाते बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडको बचत अपचलनमा मुछिएका तत्कालिन अध्यक्ष अनिल जोशी एबं उनका परिवार बिरुद्ध रकम अपचलन र ठगी कसुरमा मुद्धा चलाउने वा असुलउपरको प्रकृया गर्न निर्देशन दिएको छ। सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयले आर्थिक वर्ष २०७७/०७८ को लेखा परिक्षणका क्रममा जोशी र उनको परिवारको नाममा कायम देखिएको आठ करोड ४६ लाख ८९ हजार ६७८ थैलो कायम गरी रकम अपचलन र ठगी कसुरमा मुद्धा चलाउन वा असुलउपरको प्रकृया अपनाउन सञ्चालक समितिलाई निर्देशन दिएको हो। लेखा परिक्षणका क्रममा जोशी र उनका परिवारका नाममा देखिएको नौ करोड ११ लाख १७ हजार ६७८ रुपैयाँमध्ये सहकारी बैंकले धितो लिलाम गरेर आफ्नो ८० लाख असुलउपर गरेको थियो। यस्तै पछिल्लो हिसावका क्रममा जोशी र उनको परिवारका नाममा थप १५ लाख ७२ हजार रकम भेटिएको सञ्चालक समितिले जनाएको छ। यद्यपी जोशीको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ। गत पुस २३ गतेदेखि पुस २९ गतेसम्म अनुगमन तथा छानविन गरेको सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयले सहकारीको सबै ऋणीबाट हिनामिना तथा बेरुजु रकम असुलउपर गर्न सबै खालका कारबाहीका प्रकृया अपनाउन सुझाव दिएको छ। वित्तीय कारोबार बाहेक उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने नाराका साथ २०७२ मंसिर १० गतेदेखि दिक्तेलबजारमा कारोबार सुरु गरेको सहकारीको बचत अपचलन भएको विषय भने अध्यक्ष जोशीको निधनपछि मात्र खुलेको हो । जोशीको कोभिड–१९ को संक्रमणका कारण २०७८ बैसाख १५ गते पोखरामा निधन भएको थियो । उनको निधनपछि निक्षेपकर्ताहरु निक्षेप रकम फिर्ता माग्न आउँदा सञ्चालक समितिका पदाधिकारी तथा सरोकारवालाले सहकारीको कारोवार तथा हिसाव हेर्नेक्रममा निक्षेप फिर्ता गर्ने मौज्दात रकम नै नदेखिएपछि खोजी गर्नेक्रममा बचत अपचलन भएको विषय बाहिरिएको हो । सहकारीका तत्कालिन अध्यक्ष जोशी र व्यवस्थापक रुकु जोशीले बचत अपचलन गरेका कारण लगानी डुबेको भन्दै बचतकर्ता आन्दोलनमा छन् । सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयले सबै सञ्चालकहरुले साविकमा भएको हिनामिना तथा बेरुजु असुलउपरका लागि कारबाहीका सबै प्रकृया गर्ने, स्थानीय पालिका र प्रशासनसँगको पहलमा पुरानो नउठेको ऋण असुलउपर गर्ने वा मालपोत कार्यालयमा रोक्का राख्ने प्रकृया गर्न, हिनामिनाको रकम रोक्का राखेको जग्गा बेचबिखनमा लैजाने लगायतका १६ बुँदे निर्देशन पठाएको छ । निमित्त रजिष्ट्रार हरिबहादुर खत्रीले जारी गरेको निर्देशनमा ऋण लगानी सुरक्षित गर्न विनाधितो ऋण असुल उपर वा धितो रोक्का राख्ने व्यवस्था गर्न, रोक्का राखेको धितोबाट असुलउपरको प्रकृया अघि बढाउन, आवश्यक परे हिनाहिनाको मस्यौटमा दोषी भएकाहरु उपर सम्वन्धित अदालतमा मुद्धा दायरसम्म गर्न, सम्वन्धित मालपोत कार्यालयलाई पत्राचार गरी धितो रोक्का वा सञ्चालक, कर्मचारीको जायजेथा रोक्का गर्न, पुरानो सञ्चालक समिति, लेखा समिति तथा ऋण उपसमितिलाई बोलाई हिनाहिना छानविन र बिनाधितो ऋण लगानी सुरक्षित गर्ने कामका लागि सहजीकरण गर्न, कोपोमिसको पासवर्ड लिइ वित्तीय विवरण अद्यावधिक गर्न लगायतका विषय उल्लेख छ । यस्तै, संस्थाका कर्मचारीलाई कार्यालय खोलेर बस्ने वातावरण सिर्जना गर्ने, सुरक्षाको प्रत्याभुतीका लागि प्रहरी र जिल्ला प्रशासन कार्यालयसँग समेत समन्वयको वातावरण सिर्जना गर्न, आर्थिक वर्ष २०७८/०८९ को लेखा परिक्षण सम्पन्न गरी साधारणसभा वा विशेष भेला बोलाएर हिनाहिना र ऋण असुलीको प्रकृया गर्न, समितिले गरेका प्रगति मासिक रुपमा रजिष्ट्रार कार्यालयलाई र नगरपालिकामा पठाउन, संस्था सुधारको अल्पकालिन, मध्यकालिन र दिर्घकालिन कार्ययोजना बनाइ सोको मासिक प्रगती समिक्षा गर्न लगायतका निर्देशन दिइएको छ । सहकारीको नाममा खरिद गरिएको जग्गा समेत जोशीको परिवार तथा आफन्तको नाममा राखेको पाइएको सहकारीको आर्थिक वर्ष २०७७/०७८ को लेखा परीक्षण प्रतिबेदनमा उल्लेख छ । त्यसमध्ये तत्कालिन व्यवस्थापक रुकु जोशीको नाममा हलेसी र बाम्राङमा रहेको केही कित्ता जग्गा सहकारीको नाममा ल्याइसकिएको सञ्चालक समितिले जनाएको छ ।
वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइतलाई अभिनन्दन काठमाडौं । वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइतलाई अभिनन्दन गरिएको छ । डल्लु आवास स्थानीय समितिद्वारा आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय पुरस्कार विजेता डा रुइतलाई कदरपत्रसहित अभिनन्दन गरिएको हो । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले उनलाई सम्मान गरे । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले स्वास्थ्य क्षेत्रमा रुइतले गरेको मेहनत र क्रियाशीलताका कारण उनले प्राप्त गरेको पुरस्कारले सम्पूर्ण नेपालीको गौरव बढाएको बताए । स्वदेश तथा विदेशमा रहेका बिरामीलाई उपचार गरेर सामाजिक सेवामा डा रुइतले देखाएको कर्मबाट सबैले प्रेरणा लिनुपर्ने बताउँदै उनले सरल स्वभावका रुइतको सुखमय जीवन र थप प्रगतिको कामना गरे । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले अन्धकारमा छटपटिएका बिरामीलाई ज्योति प्रदान गरेका डा रुइतले मुलुकलाई अन्तर्राष्ट्रिय तहमा परिचित गराए । काठमाडौँ महानगरपालिका–१५ का वडाध्यक्ष ईश्वरमान डङ्गोलले उनको सामाजिक विकास तथा माननवीय सेवाको भावना अतुलनीय रहेको बताए । हालै बहराइनबाट दिइने इशा अवार्ड प्राप्त गर्न डा रुइत छनोट भएका छन् । जसको राशि १३ लाख अमेरिकी डलर बराबरको छ । अन्तर्राष्ट्रिय तहमा ठूलो पुरस्कार प्राप्त गर्न लागेका उनी पहिलो नेपाली हुन् ।
मनाङ अस्पतालमै छैन एम्बुलेन्स मनाङ । जिल्ला अस्पताल मनाङमा एम्बुलेन्स नभएपछि बिरामीलाई समस्या भएको छ । एम्बुलेन्स अभावका कारण बिरामी समयमै स्वास्थ्य उपचार पाउनबाट वञ्चित हुँदैआएका छन् । एम्बुलेन्स अभावका कारण बिरामी उपचारका लागि अन्य सवारी साधनमा कष्टकर यात्रा गर्न बाध्य छन् । पर्यटकीय क्षेत्र मनाङमा आएका बाह्य तथा आन्तरिक पर्यटकलाई पनि बिरामी पर्दा स्वास्थ्य संस्था जान समस्या भइरहेको छ । पर्यटक तथा स्थानीयलाई अस्पतालसम्म पु¥याउन एम्बुलेन्सको एकदमै खाँचो रहेको जिल्ला अस्पतालका प्रशासन विभागका प्रमुख रहमद अन्सारीले बताए । “अस्पतालसित एम्बुलेन्स छैन, गम्भीर प्रकृतिका बिरामीलाई अन्यत्र रिफर गर्नुपर्ने अवस्था भएमा एम्बुलेन्स खोज्दाखोज्दै बिरामीको ज्यान जाने हो कि भन्ने त्रास हुन्छ”, उनले भने । उनका अनुसार गाउँपालिकामा भएका एम्बुलेन्स बिग्रिएर थन्किएका छन् । जिल्ला रेडक्रस सोसाइटीसित भएको एम्बुलेन्स मनाङ ङिस्याङ गाउँपालिकामा बिग्रिएर थन्किएको छ । सदरमुकाम चामे गाउँपालिकाको एम्बुलेन्स पनि बिग्रिएको छ । “अस्पतालसित आफ्नै एम्बुलेन्स एकदमै आवश्यक छ”, अन्सारीले भने । एम्बुलेन्सका लागि रेडक्रसको भर पर्नुपर्ने अवस्थाको अन्त्य गर्न अस्पतालले स्थानीय, प्रदेश र सङ्घीय सरकारलाई गुहार्दै आएको छ । प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलले पटक–पटकको बैठकमा एम्बुलेन्सको आवश्यकताबारे छलफल गरी सम्बन्धित निकायसँग माग गर्दैआएको बताए । “स्थानीयलाई सहज स्वास्थ्य उपचार प्रदान गर्ने उद्देश्यले एम्बुलेन्स सेवा उपलब्ध गराउन प्रतिवद्ध भइ सम्बन्धित निकायसँग समन्वय गरिरहेका छौँ”, उनले भने । एम्बुलेन्स अभाव हुँदा गत वर्ष बिरामी हुँदा हेलिकप्टर चार्टड गरेर पोखरा गएको स्थानीय कर्मछिरिङ गुरुङले बताए । सरकारले एम्बुलेन्स सेवा उपलब्ध गराएको अवस्थामा नागरिकले सास्ती भोग्नु नपर्ने उनको भनाइ छ । मनाङमा कोही गम्भीर बिरामी भएमा अस्पताल पु¥याउन हेलिकप्टरको भर पर्नुपर्ने हुन्छ । तर यहाँको मौसम अधिकांश समय प्रतिकूल रहने हुँदा सडककै भर पर्नुपर्ने स्थानीयवासी बताउँछन् ।
भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै सुन्तला भोजपुर। सुन्तला बिक्रीबाट यहाँका किसानले राम्रो आम्दानी गर्दै आएका छन्। व्यावसायिक रुपमा सुन्तला खेती गर्दै आएका किसान राम्रो आम्दानी लिन सफल भएका हुन्। विगतमा यहाँको स्थानीय बजारमा मात्र बिक्री हुने सुन्तला सडकका कारण अहिले धेरै जसो बाहिरका जिल्लामा पुग्न थालेपछि किसानले राम्रो मूल्य पाएका हुन्। राम्रो बगान भएका किसानले वार्षिक रु छदेखि १० लाखसम्म आम्दानी गर्दै आएका छन्। यहाँका सबै स्थानीय तहमा सुन्तला उत्पादन हुने भए पनि विशेष गरेर टेम्केमैयुङ गाउँपालिकाको खावा केराबारी, अन्नपूर्ण, छिनामखु, कोट, गोगनेसँगै भोजपुर नगरपालिकाको दावा, बोमिख, पोखरे, तथा षडानन्द नगरपालिका, हतुवागढी गाउँपालिका र रामप्रसाद राई गाउँपालिकामा सुन्तला बढी उत्पादन हुने गरेको छ। टेम्केमैयुङ–५ खावा केराबारीका चण्डालकुमार राईले यो व्यावसायबाट राम्रो आम्दानी गरिरहेको बताए। आफ्नो बगानमा रहेका सुन्तला र बिरुवा बिक्रीबाट वार्षिक रु सातदेखि १० लाखसम्म आम्दानी लिने गरेको उनको भनाइ छ। “मैले सुन्तला खेतीबाट राम्रो आम्दानी लिँदै आएको छु”, कृषक राईले भने, “व्यावसायिक रुपमा सुन्तला खेतीबाट राम्रो आम्दानी लिन सकिन्छ, मेरो बगानमा चार सय बोट सुन्तलाका छन्।” राईले ४४ वर्षअघिदेखि सुन्तला व्यवसायमा लागेको बताए। सुन्तला खेती किसानहरुको पेन्सनका रुपमा लिन सकिने उनको भनाइ छ। बिरुवा हुर्काएपछि सय वर्षसम्म लाभ लिन सकिने भएकाले यो व्यवसाय वृद्धवृद्धाका लागि बाँच्ने आधार रहेको उनको भनाइ छ। “सुन्तला खेती बुढेसकालको सहारा बनेको छ”, उनले भने, “एक पटक बिरुवा हुर्काएपछि लामो समयसम्म निरन्तर आम्दानी हुन्छ, सामान्य रुपमा बगानको हेरचाह मात्र गरे धेरै दुःख गर्न पर्दैन।” व्यावसायिक सुन्तला खेतीमा लागेका उनी विभिन्न समयमा उत्कृष्ट कृषकका रुपमा सम्मानितसमेत बनेका छन्। ठेकेदारले बगानबाटै सुन्तला किन्ने गरेका छन्। आफैँले बिक्री गर्न बजारसम्म लैजान सके राम्रो मूल्य लिन सकिने उनको भनाइ छ। यहाँको सुन्तलाको मुख्य बजार धरान, इटहरी, विराटनगर र काठमाडाँै रहेको राईले बताए। “यहाँको सुन्तलाको बजारमा राम्रो माग छ”, उनले भने, “मुख्य रुपमा धरान, इटहरी, विराटनगर र काठमाडाँै जान्छ, उत्पादन भएको सुन्तला बिक्री गर्न कुनै समस्या छैन।” यो क्षेत्रका अधिकांश किसानले व्यावसायिक रुपमा सुन्तला खेती गरिरहेको स्थानीय किसान देवराज राईले बताए। खावा केराबारीका किसानले मुख्य आम्दानीको स्रोतका रुपमा सुन्तलालाई बनाएको उनको भनाइ छ। यहाँको सुन्तलाको बजारमा राम्रो माग रहेको किसान राईले जानकारी दिए। बोक्रा पातलो तथा अन्य ठाउँको सुन्तलाको तुलनामा गुलियो हुने भएकाले केराबारीको सुन्तलाको बजारमा छुट्टै स्थान रहेको उनले बताए। “यहाँका ७० बढी घरपरिवारको मुख्य आम्दानीको स्रोत सुन्तला हो”, उनले भने, “सुन्तलाबाट राम्रो आम्दानी गरिरहेका छौँ, यो समयमा यहाँका कृषक सुन्तला बिक्रीमा व्यस्त रहेका छन्।” सुन्तलाबाट राम्रो आम्दानी हुने भए पनि थप खेती विस्तारमा लागेको किसान राईको भनाइ छ। आफ्नो बारीमा चार सय बोट सुन्तलाका बिरुवा लगाएको उनले बताए। “अहिले पुरानो बगानबाट वार्षिक रु एक लाख ५० हजारदेखि दुई लाखसम्म आम्दानी हुन्छ”, किसान राईले भने, “केही वर्षपछिबाट रु १० देखि १२ लाखसम्म आम्दानी लिने लक्ष्य छ।” सिँचाइ तथा आधुनिक प्रविधिको विकासमा जोड दिनसके अझ राम्रो आम्दानी गर्न सकिने उनको भनाइ छ। पछिल्लो समय यो क्षेत्रका धेरै युवा व्यावसायिक सुन्तला खेती विस्तारमा जुटेको उनले बताए। किसानलाई प्रोत्साहनका कार्यक्रम ल्याउन सके थप सहजता हुने किसानको भनाइ छ। उत्पादन भएको सुन्तला भण्डारणका लागि चिस्यान केन्द्र स्थापना गर्न आवश्यक रहेको उनको भनाइ छ। “किसानलाई उत्पादन भएको सुन्तला भण्डारणमा समस्या छ”, उनले भने, “भण्डारणको व्यवस्था राम्रो नहुँदा एकै पटक बजारमा पठाउनुपर्ने भएकाले किसानले सोचे जस्तो लाभ लिन नसकेको अवस्था छ।” यहाँका सुन्तला किसानलाई लक्षित गरेर प्रोत्साहनमूलक काम गरिरहेको स्थानीय जनप्रतिनिधिको भनाइ छ। आगामी दिनमा यसको थप विस्तारका लागि काम गर्ने वडा नं ५ का वडाध्यक्ष सुनिल राईले बताए। “हाम्रो खावा केराबारी क्षेत्र सुन्तलाको अत्यन्तै राम्रो भूगोल हो”, उनले भने, “केही प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरिरहेका छौँ, यहाँको सिँचाइको समस्यालाई ध्यानमा राखेर काम गर्ने योजनामा छौँ।” सुन्तलाका लागि पूर्व उत्तर फर्केको जमिन उपयुक्त हुने किसानको भनाइ छ। सुन्तला विशेष गरेर समुन्द्री सतहबाट एक हजारदेखि एक हजार दुई सय मिटरसम्मको उचाइमा राम्रो फस्टाउने गर्दछ। टेम्केमैयुङ गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने काम गरिरहेको अध्यक्ष सरोज बस्नेतले बताए। यहाँका नगदेबालीसँगै कृषि तथा पशुपालनमा लागेका किसानलाई प्रोत्साहन गर्ने योजना रहेको उनको भनाइ छ। “गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने हाम्रो योजना नै छ”, अध्यक्ष बस्नेतले भने, “यहाँका हाम्रो सबै नौवटै वडामा सुन्तला फल्छ, सुन्तलाबाट राम्रै आम्दानी गरिरहेको अवस्था पनि छ, यसलाई थप प्रोत्साहन गर्न विभिन्न खेतीमा लागेका किसानको तथ्याङ्क सङ्कलन गरेर प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गर्ने गाउँपालिकाको लक्ष्य छ।” भोजपुरमा यस वर्ष छ हजार दुई सय ९३ मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ। उत्पादन भएको सुन्तला प्रतिकिलो एक सयदेखि एक सय २० मा बिक्री हँुदै आएको किसानको भनाइ छ। जिल्लाभर नौै सय २० हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुने गर्दछ।
जुम्ला धावन मार्गको हिउँ पञ्छाएपछि हवाई सेवा सुचारु जुम्ला। जुम्ला विमानस्थलमा धावन मार्गको हिउँ पञ्छाएपछि हवाई सेवा सुचारु भएको छ । लगातरको हिउँले धावन मार्गमा नै जहाज बस्न कठिन भएको थियो। विहिबार विहानै देखी नेपाली सेना, नेपाल प्रहरी, शशस्त्र प्रहरीले धावन मार्ग सफा गरेपछि हवाई सेवा सुचारु भएको हो। नेपाल नागरिक उड्डन प्राधिकरण जुम्लाका अनुसार हिउँ पञ्छाएपछि दुई वटा उडान भएका छन्। नागरिक उड्डयन प्राधिकरण जुम्लाका निमित्त प्रमुख राजिव श्रेष्ठका अनुसार हिउँसफा सँगै हवाईसेवा सुचारु भएको हो। उनका अनुसार जहाँज आएपछि तिन दिनदेखी थन्किएका यात्रुहरु आवत जावत हुन थालेका छन्। विहीबार विमानस्थल सफाई गरेपछि समिट एयर र तारा एयरले जुम्लामा उडान भरेका छन्। त्यस्तै धावन मार्गमा हिउँ जमेपछि विहानै देखी नेपाली सेना, शशस्त्र प्रहरी, नेपाल प्रहरीले धावनमार्गमा हिउँ फाल्ने काम गरेको थियो। नेपाली सेना २४ नम्बर बाहीनीका वाहिनीपति सोवेन्द्रसिंह महत, नन्दावक्स गणका गणपति रविन थापा विहानै देखी जुम्ला विमानस्थलको धावनमार्ग खुलाउन खटिएका थिए। तिन दिन देखी हिउँ परेर नेपालगंजमा जुम्ला आउने यात्रुहरु अलपत्र अवस्थामा थिए।
चन्द्रौटामा फष्टायो सिद्राको व्यापार कपिलवस्तु (बुद्धभूमि)। जाडोयाम सुरु भएसँगै कपिलवस्तुको चन्द्रौटा बजारमा सिद्राको व्यापार फष्टाएको छ। अहिले यहाँका सिद्रा व्यापारीलाई सिद्रा बेच्ने चटारो छ। दुई दशकदेखि सिद्रा व्यापार गरिरहेका अनिश अन्सारीले दैनिक एकदेखि डेढ क्विन्टल सिद्रा बेचिरहेको बताए। असोज अन्तिम हप्तादेखि बढेको सिद्राको व्यापार फागुनसम्म चल्ने अन्सारी बताउँछन्। वर्षभरि ४० देखि ४५ क्विन्टलसम्म सिद्राको व्यापार गर्ने उनले बताए। “अरुभन्दा जाडो मौसममा सिद्राको व्यापार फष्टाउँछ”, उनी भन्छन्। चन्द्रौटा बजारभित्र झण्डै दुई दर्जन व्यापारीले सिद्रा बेच्छन्। यहाँको सिद्रा किन्न रोल्पा, रुकुम, प्यूठान, दाङ, अर्घाखाँची, गुल्मी, पाल्पादेखि कोहलपुरसम्मबाट सेवाग्राही आउँछन्। जाडो हटाउन सिद्राको झोल खाने चलनछ। सिद्रा साना साना भुरा माछा मारेर बनाइन्छ। खाँदा माछाको स्वाद आउने र जाडो भगाउने हुँदा यसको व्यापार जाडोमा फष्टाएको हो। रुकुम मुसिकोट नगरपालिका–११ बाट सिद्रा लिन चन्द्रौटा बजार आएकी जमुना बुढाले पहाडमा सिद्राको महत्व बढी भएकाले सिद्रा किन्न आएको बताए। जाडोमा तातो झोलको लागि सिद्रा खान उत्तम रहेको उनले सुनाए। सुत्केरी, वृद्धवृद्धा, बालबच्चालाई चिसोबाट बचाउन यसको झोल उत्तम हुने उनको विश्वास छ। दाङ राप्ती गाउँपालिका–९ कि पारु पुनले हरेक वर्ष सिद्रा लिन आउने गरेको सुनाए। आफूले किनेको सिद्रा केही घरमा प्रयोग गर्ने अरु पहाडमा दिदीबहिनीलाई पाहुरको रुपमा पठाइदिने बताए। अर्घाखाँची जुकेनाकी भगवती बेल्वासे पनि सिद्रा किन्न लागि चन्द्रौटा झरेको बताउँछन्। आफन्तको घरमा आएको बेला सिद्रा पाहुरको रुपमा घरमा लैजान लागेको उनले बताए। चन्द्रौटादेखि २१ किलोमिटर भारतको बढनी बजारबाट लाखौको सिद्रा नेपाल आयात हुन्छ। लखनउ, गोरखपुरबाट सिद्रा ल्याएर बेच्ने गरेको सिद्रा व्यापारी हकिउल्लाह मुसलमानले बताए। भारतका कृषकले खोलानाला, खेतका खालबाट भुरा माछा मारी सुकाएर सिद्रा बनाउछन्। माछाका विभिन्न प्रजातिमध्ये जुँगे, झिंगे, सुन्दरी, टेग्ना, बरेल, चलवा, बुलवा जातको माछाको सिद्रा बन्छ। यहाँ सिद्रा किन्नको लागि साना साना व्यापारीदेखि ठूला व्यापारीसम्म आउने गरेको व्यापारी बताउँछन्। सिद्रा फुटकर रुपमा प्रतिकिलो रु दुई सयदेखि पाँच सयमा बिक्री हुन्छ। भारतबाट भन्सार गरी पशु क्वारेन्टाइनको अनुमति लिई सिद्रा बेच्ने बताइन्छ।
प्रहरी हुँ भन्दै ठगी गर्ने घनपोखराका एक जना पक्राउ लमजुङ। प्रहरी हुँ भन्दै ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय लमजुङको विशेष टोलीले मस्र्याङदी गाँउपालिका १ घनपोखराका ३५ वर्षिय जीवन गुरुङलाई पक्राउ गरेको हो। आफू प्रहरी भएको र विभिन्न स्थानमा जागिर लगादिने, प्रहरीमा परेका केशहरु मिलाईदिने भनी ठगि गर्दै हिडेका गुरुङलाई जिल्ला प्रहरी कार्यालय लमजुङको प्रहरी टोली यहि माघ १० गते पोखराबाट पक्राउ गरेको हो। बेसीशहरमा डेरा गरि वस्ने गुरुङ विभिन्न महिलाहरुसँग रु ७ लाख १७ हजार पाच सय रुपैया लिएर सम्पर्क विहिन भएका थिए। उनले जिल्ला प्रशासन कार्यालय, हुलाक कार्यालय र कृषि ज्ञान केन्द्रमा जागिर लगाइदिने र म प्रहरी हु प्रहरीमा भएको केशहरु समेत मिलाईदिन्छु भन्दै विभिन्न व्यक्तिहरुलाई ठगी गरेका थिए। गुरुङ विरुद्ध प्रहरीमा उजुरी परेपछि लमजुङको प्रहरी टोलीले पोखरामा लुकिछिपि बसेको अवस्थामा प्रक्राउ गरेको लमजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक प्रकाश श्रीमलले बताए। निज गुरुङलाई जिल्ला अदालत लमजुङबाट ठगी सम्वन्धी कसुरमा पाँच दिनको म्याद थप गरि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरक्षक जगदिश रेग्मीले जानकारी दिए।
खाद्य सङ्कट समाधानमा नेपालको विविधता अवसर हो : मन्त्री पौड्याल काठमाडौं । परराष्ट्र मन्त्री डा विमला राई पौड्यालले खाद्य सङ्कट समाधानका लागि मुलुकभित्रको विविधता अवसर भएको बताएकी छन् । गैरसरकारी संस्था महासङ्घ नेपालले आज यहाँ आयोजना गरेको विश्वव्यापी भोकमरी सूचकाङ्क (ग्लोबल हङ्गर इन्डेक्स) रिर्पोट, २०२२ सार्वजनिक तथा छलफल कार्यक्रममा उनले मुलुकमा रहेको भौगोलिक र जातीय विविधता तथा मौलिक सीपलाई कृषि उत्पादन र उपभोगमा अवसरका रुपमा उपयोग गर्नुपर्नेमा जोड दिइन् । खाद्य गहन विषय भएको र यो वर्गीय, सामाजिक, जातीयलगायत पहिचानसँग गासिएको उल्लेख गर्दै मन्त्री पौडेलले खाद्य उत्पादनसँगै वितरण, आपूर्ति र पहुँचको विषय महत्वपूर्ण हुने उल्लेख गरिन् । अन्तर्राष्ट्रिय प्रभाव र मूल्य वृद्धिले खाद्य वितरण र आपूर्तिमा चुनौती थपेको बताउँदै उनले नेपालमा थोरै भए पनि यस विषयमा प्रगति भएको बताइन् । पछिल्लो समय बजारमा स्थानीय खाद्यभन्दा आयातित खाद्य वस्तुको प्रवेशले खाद्य सुरक्षामा समस्या उत्पन्न भएको धारणा व्यक्त गर्दै उनले स्थानीय खाद्य सामग्रीलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिइन् । कार्यक्रममा ‘नारमिन’ का महासचिव खीमबहादुर थापा, राष्ट्रिय किसान आयोगका सदस्य जीवन्ती पौडेल, महासङ्घका अध्यक्ष रामप्रसाद सुवेदीलगायतले खाद्य सुरक्षा विषय र समाधानका सम्बन्धमा आफ्ना धारणा व्यक्त गरेका थिए । कार्यक्रममा सरोकारवाला विज्ञ सम्मिलित समूहगत छलफल हुनुका साथै नेपालको खाद्य सुरक्षा र अधिकारको अवस्थाका बारेमा विभिन्न प्रस्तुति गरिएको थियो । विश्वव्यापी भोकमरी सूचकाङ्क (ग्लोबल हङ्गर इन्डेक्स) (जीएचआई) कन्सर्न वल्र्डवाइड र वेल्टहङ्गर हिल्फेद्वारा संयुक्त रूपमा प्रकाशित विश्वव्यापी, क्षेत्रीय र राष्ट्रियस्तरमा भोकमरीको विस्तृत रुपमा मापन र अनुगमन गर्न विकसित गरिएको एउटा वार्षिक प्रतिवेदन हो । जीएचआईको उद्देश्य विश्वभरिबाट भोकमरी अन्त्य गर्नेतर्फ कदम चाल्न उत्प्रेरित गर्नु हो । सन् २०२२ को जीएचआई प्रतिवेदन वार्षिक शृङ्खलामा १७औँ हो । यसले विश्वव्यापी, क्षेत्रीय र राष्ट्रिय भोकमरी स्थितिको बहुआयामिक मापन प्रस्तुत गर्दछ । सन् २०२२ को विश्वव्यापी भोकमरी सूचकाङ्क (जीएचआई) मा नेपाल १२१ राष्ट्रहरूमध्ये ८१औँ स्थानमा छ ।
स्वास्थ्य क्षेत्रको बजेट बढाउने प्रस्ताव पेस गरेका छौँः राज्यमन्त्री कार्की काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा तोसिमा कार्कीले स्वास्थ्य क्षेत्रको बजेट बढाउन मन्त्रिपरिषद्मा प्रस्ताव पेस गर्ने तयारी भएको बताएकी छन् । आज यहाँ आयोजित पत्रकारसँगको अन्तरक्रियामा उनले स्वास्थ्य वित्त रणनीति अन्तर्गत बजेट बढाउने प्रस्ताव पेस गर्न लागिएको जानकारी दिइन् । स्वास्थ्य क्षेत्रमा ठूलो लगानी आवश्यक भएको भन्दै बजेट बढाउने प्रयास भइरहेको उनको भनाइ छ । “स्वास्थ्य क्षेत्रमा छुट्याइएको बजेट अपुग छ, स्वास्थ्य वित्त रणनीति कार्यान्वयनका लागि थप बजेट आवश्यक भएकाले मन्त्रिपरिषदमै बजेट बढाउने प्रस्ताव पेस गर्न लागेका छौँ ।” स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पाँच दशमलव सात पाँच प्रतिशत बजेट मात्रै बिनियोजन भएको भन्दै उनले उक्त बजेट पर्याप्त नभएको बताइन् । न्यूनतम सेवा मापदण्डअनुसार देशभरका आधारभुत स्वास्थ्य केन्द्रदेखि विशिष्टकृत स्वास्थ्य संस्थाको अनुगमन तीव्र पारिने उनको भनाइ छ । उनले मुलुकभरको आकस्मिक स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन एकीकृत एम्बुलेन्स कार्ययोजना अघि बढाइएको जानकारी दिइन् । जसअन्तर्गत सरकारी, निजी, सामुदायिक तथा गैरसरकारी सङ्घसस्थाले सञ्चालन गरिरहेका मुलुकभरका सम्पूर्ण एम्बुलेन्सलाई ‘सेन्ट्रल पुल’मार्फत् एम्बुलेन्स सेवा दिने तयारी भइरहेको उनले बताइन्। “एकीकृत एम्बुलेन्स कार्ययोजना अनुसार कुनै पनि ठाँउमा एम्बुलेन्स आवश्यक परे हटलाइन नम्बरमार्फत् सम्पर्क गर्ने बित्तिकै सेवा उपलब्ध हुने गरी काम गर्दैछौँ”, उनले भनिन् । राज्यमन्त्री कार्कीले आफूले पदवहाली गरेको दश दिनमै स्वास्थ्य क्षेत्रका कार्ययोजना बनाउन लागेको बताइन् । उनले डाक्टर गोविन्द केसीले राख्दै आउनु भएको स्वास्थ्य र चिकित्सा शिक्षा क्षेत्र सुधारका मागप्रति आफू प्रतिबद्ध रहेको समेत बताइन् ।
विमान दुर्घटनास्थलमा श्रद्धाञ्जलीसभा कास्की। गत माघ १ मा पोखराको सेती खोँचमा यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भएकाहरुको स्मृतिमा आज घटनास्थलमा पोखरा महानगरपालिकाले श्रद्धाञ्जलीसभासहित दीप प्रज्वलन गरेको छ। पोखरा महानगरपालिकाले घटनाको १३औँ दिन पारेर विमान दुर्घटनास्थल पोखरा–७ स्थित मितेरीपुल नजिक ठीक १०ः५८ बजे श्रद्धाञ्जलीसभा गरेको हो। सो अवसरमा घटनामा निधन भएका सबै यात्रुहरुको स्मृतिमा दीप प्रज्वलन समेत गरियो। कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विमान दुर्घटनामा परेकाहरुको शोकले पोखरा, कास्की जिल्लासहित समग्र गण्डकी प्रदेश स्तव्ध भएको बताए। दुर्घटनाका आला घाउहरु पूर्दै बाँचेकाहरुले नयाँ परिस्थितिको सामना गरेर अगाडि बढ्ने अठोट गर्नुपर्ने मुख्यमन्त्री अधिकारीको भनाई छ। उनले दुर्घटनापछि जोखिम मोलेर उद्धार कार्यमा महत्वपूर्ण योगदान गर्ने नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्काउट, रेडक्रस, जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी राजनीतिक दललगायतप्रति गण्डकी प्रदेश सरकारकातर्फबाट हार्दिक कृतज्ञता व्यक्त गरे। पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले दुर्घटनाले पोखरालाई अपूरणीय क्षति पुगेको बताए। माघे सङ्क्रान्तिको विहान काठमाडौँबाट पोखरा आउँदै गरेको यती एयरलाइन्सको एटिआर विमान विहान १०ः५८ बजे पोखरा वडा नं ७ र १५ को सिमास्थित सेती नदीको खोँचमा दुर्घटना भएको थियो। घटनामा विमानमा सवार ७२ जनामध्ये ७१ जनाको निधन भइसकेको छ भने एकजनाको खोजी कार्य जारी छ। दुर्घटनामा परेकामध्ये अझै केहीको सनाखतका लागि काठमाडौँस्थित त्रिभुवन शिक्षण अस्पतालमा डीएनए परीक्षण गरिएको छ ।
उद्योगी र व्यवसायीको बैंकसँग गुनासो-प्रेमप्रसाद आचार्यले लिएको बाटोमा नधकेल महोत्तरी। बर्दिबासका उद्योगी र व्यवसायीहरुले बैंकबाट हुने मानसिक यातनाले उद्योगी व्यवसायीहरु जीवन नै समाप्त गर्ने परिस्थिति सृजना भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यको जस्तै परिस्थिति सिर्जना हुँदै गएको भन्दै उनीहरुले सरकारको ध्यानाकर्षण गराएका हुन्। बैंकका प्रतिनिधिसहितको सहभागितामा बर्दिबास उद्योग वाणिज्य संघले आयोजना गरेको अन्तरक्रियामा व्यवसायीहरुले बैंकहरुका कारणले नै व्यापारीहरुलाई आत्मदाहको स्थितिमा पुर्‍याएको भन्दै चिन्ता व्यक्त गरे। धितोको नाममा बैंकले दिने मानसिक तनावले कयौँ युवाहरुले आत्महत्याको बाटो रोज्दै गएको र यसको जिम्मेवार बैंकहरु स्वयंले लिनुपर्ने उनीहरुको भनाइ छ। ७ प्रतिशतमा ब्याजमा लिएको ऋण अहिले १४ प्रतिशतसम्म तिर्नुपर्ने वाध्यताले कयौ व्यापारीहरु व्यापारवाट नै पलायन भइरहेका अन्तरक्रियामा सहभागी उद्योगीहरुले गुनासो गरेका छन्। साना तथा मझौला व्यापारीहरुलाई बैंकमा विभेदपूर्ण व्यवहार हुने भन्दै व्यापारीहरुले आक्रोश समेत ब्यक्त गरे। होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीका सचिव नारायण घिमिरेले वित्तीय तथा बैंकहरुलाई नाफामुखि बनाउन व्यवसायीहरुकै योगदान भए पनि पछिल्लो समय बनेको वित्तीय नीतिले व्यवसायप्रति नै निरुत्साहित बनाएको बताए। ‘गभर्नरले चढ्ने गाडीदेखि लिने सम्पूर्ण सुविधा हाम्रै करले भएको छ,’ उनले प्रश्न गरे, ‘फेरि हामीप्रति नै अन्याय?’ अहिलेको अवस्था अन्त्य नगरे आन्दोलन गर्ने उनले चेतावनी पनि दिए। बैंक व्यवसायीहरुप्रति लचिलो नबन्ने हो भने लिलामीका फाइलहरुको चाङ लाग्ने र लिलाम गर्ने मान्छेसमेत नपाउने परिस्थिति सिर्जना हुने भन्दै उनले बैंकहरु उत्पादनमुखी बन्न सुझाव दिए। बैंकको चर्को व्याज र घरभाडाका कारण बर्दिबासमा मात्र ४६ वटा सटर बन्द भएको बताउँदै व्यवसायीहरुले चिन्ता व्यक्त गरे। बैंकले चोरीको घटना बढ्दै गएकाले वित्तीय नियमानुसार सामाजिक क्षेत्रमा खर्चिनुपर्ने पैसा सिसिटीभी जडानमा खर्चिनुपर्ने संघको माग छ। उद्योग बाणिज्य संघका अध्यक्ष बिष्णु खडकाले व्यवसायीकै कारणले चलिरहेका बैंकहरुले सामजिक विकासका क्षेत्रमा गर्नुपर्ने जिम्मेवारी सिसिटिभी जडान गरेर सुरक्षित सहर निर्माण गर्नुपर्नेमा जोड दिए।
एउटै वडाबाट रू १४ करोडको सुन्तला बिक्री स्याङ्जा। स्याङ्जाको पुतलीबजार नगरपालिका-१० ले यस वर्ष सुन्तला बिक्रीबाट रू १४ करोड आम्दानी गरेको छ। व्यावसायिकरुपमा सुन्तला खेती गरिरहेका किसानले ठेक्का तथा आफैँले बिक्री गरेर रू १४ करोडसम्म आम्दानी गरेका छन्। जिल्लामा धेरै क्षेत्रफलमा सुन्तला खेती गर्ने किसान १० नं वडामा रहेका सुन्तला सुपरजोन स्याङ्जाका पूर्वसचिवसमेत रहेका मुक्ति अधिकारीले जानकारी दिए। ‘वडामा सुन्तला खेतीलाई व्यावसायिक बनाउने किसान धेरै हुनुहुन्छ, उहाँहरुले न्यूनतम ५० हजारदेखि अधिकतम ५० लाखसम्म आम्दानी गर्नुहुन्छ’, उनले भने। रू पाँच-सात लाखदेखि १५-२० लाख आम्दानी गर्ने किसानको सङ्ख्या धेरै छ। किसानले बगैँचा नै ठेक्कामा दिने वा आफैं टिपेर ठेकेदारलाई प्रतिकेजीका दरले बिक्री गर्दछन्। कोदो तथा मकै खेतीबाट जीविकोपार्जन गरिरहेका किसानले हाल व्यावसायिक रुपमा सुन्तला खेती गरेर बर्सेनि लाखौँ भित्र्याइरहेका छन्। सुन्तलाबाट राम्रो आम्दानी हुन थालेपछि यहाँका किसानहरुले नयाँ बोट थप्नेका छन्। अबका केही वर्षमा उत्पादनसँगै आम्दानीमा पनि वृद्धि हुने उनको भनाइ छ। गत वर्षको तुलनामा यस वर्ष सुन्तला उत्पादन बढेपनि बजार मूल्य गत वर्षको जति पनि नहुँदा अपेक्षा अनुसारको आम्दानी लिन नसकिएको किसानहरु बताउँछन्। प्रतिकेजी रू ५५ बाट बिक्री सुरु भएको सुन्तला अहिले प्रतिकेजी रू ९० मा बिक्री भइरहेको छ। अपेक्षाअनुसार बजार मूल्य नपाएपछि शीतभण्डार गरेर बिक्री थालिएको थियो । तर व्यवस्थापकीय कमजोरीका कारण शीतभण्डारमा सुन्तला कुहिएपछि किसानहरु थप मर्कामा परेका छन्। जिल्लामा यस वर्ष रू एक अर्ब २५ करोडको सुन्तला उत्पादन भएको कृषि ज्ञानकेन्द्र स्याङ्जाले जनाएको छ।
सिरहामा वन कर्मचारीकै मिलोमतोमा काठ तस्करी सिरहा। सिराहामा सव डिभिजन कार्यालयकै कर्मचारीको मिलोमतोमा काठ तस्करी हुने गरेको स्थानीयहरुले आरोप लगाएका छन्। जिल्लास्थितका डिभिजन वन कार्यालय लहान र मातहतका सव डिभिजन कार्यलय कर्मचारीको संलग्नतामा काठ तस्करी भइरहेको स्थानीयहरुले आरोप लगाएका हुन्। डिभिजन वन कार्यालयको मातहतमा रहेका सव डिभिजन कार्यालयको कर्मचारीहरुकै मिलोमतोमा यस क्षेत्रबाट व्यापक रुपमा काठ तस्करी गराउने गरेको स्थानीयहरु बताउँछन्। जिल्लाको गोलबजार नगरपालिका-३ जम्दहको चोरपानेबाट दुई ट्याक्टरभन्दा बढी अवैध रुपमा तस्करहरुले फडानी गरी राखिएको अवस्थामा खयर जातको काठ बरामद गरेको वन कार्यालय लहानले जनाएको छ। ईन्द्रेणी सेवा समाजद्वारा संरक्षित ऐलानी पर्ती जमिनमा लगाइको खयरको रुख तस्करले कटान गरी लुकाएर राखेको अवस्थामा स्थानीयले जानकारी गराएपछि काठ नियणन्त्रनमा लिएको हो। यहाँका समुदायिक वनको काठ सव डिभिजन वन कर्मचारीको सेटिङमै अवैध रुपमा फडानी गरी चोरी निकासी हुने गरेको स्थानीय आन्नद कुमार सुनाउँछन्। उनले रुख फडानी भइरहेको विषयमा स्थानीयहरुले सव डिभिजन वन कार्यालयका कर्मचारीला पटक पटक जानकारी गराउँदासमेत बेवास्ता गरेको गुनासो पोखे। काठ तस्करी रोक्न डिभिजन र सव डिभिजनका प्रमुखहरूलाई समेत जानकारी गराउँदा बेवास्ता गरेको उनको गुनासो छ। ‘काठ तस्करी र नियन्त्रणमा न वनको सक्रियता देखाएको छ न प्रहरीले नै,’ उनले थपे, ‘नियामक निकायकै मिलेमतोमा काठ तस्करी फस्टाएको छ । वन फडानीबारे जानकारी गराउँदा वन कर्मचारी सुन्दैनन्। तस्करी भइरहेको जानकारी गराउँदा न वन कर्मचारी वास्ता गर्छन् न। वन र प्रहरीको मौनताले काठ तस्करीमा उनीहरुको सेटिङ प्रष्ट देखिन्छन्।’ खबर पाउना साथ डिभिजन वन कार्यालयको टोलीले शुक्रबार करिब ७० क्युविफिट काठ बरामद गरेको सिरहाका प्रमुख निमित्त डिभिजनल वन अधिकृत शैलेन्द्र कुमार मिश्रले जनाएको छ। बरामद काठ ल्याउने काम भइसकेको र फडानी गर्नेको परिचय पनि छिटै खुलिने अधिकृत मिश्रले बताए । अनुसन्धानकै क्रममा रहेकाले तत्काल सबै कुरा भन्न नसक्ने वन कार्यालय प्रमुख मिश्रले बताए। यता, अवैध रुपमा काठ तस्करी गर्नेको नाम गोलबजार-३ कै दुःखी नामले परिचित ज्ञानकुमार साह रहेको नाम नखोल्ने सर्तमा एक स्थानीयले बताए । यसअघि पनि उनले खयरका रुखहरु काटेको विषयमा स्थानीयस्तरमा सचेत गराए पनि एकपटक वन कार्यालयको मिलोमतोमा जंगलको काठ फडानी गरी अवैध रुपमा चोरी तस्करी गर्ने गरेको स्थानीयहरु बताउँछन्। यस विषयमा सव डिभिजन कार्यालय चोहर्वाका प्रमुख सत्य नारायण यादबसँग बुझ्न खोज्दा सम्पर्क हुन सकेन।
जापानी मेयरलाई चिन्डो उपहार खोटाङ। खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले जापानको तोचिगी नगरका प्रमुख ओखावा हिदेकोलाई नेपाली मौलिक संस्कृति, पहिचान र राष्ट्रियता झल्काउने सामग्री उपहार स्वरुप हस्तान्तरण गरेका छन्। मैत्रीपूर्ण भ्रमणका क्रममा जापान पुगेका मेयर भट्टराईले मेयर ओखावा हिदेकोलाई किरात समुदायको संस्कार संस्कृतिसँग सम्बन्धित् वाबु (चिन्डो), चोयाबाट बनेको भुने, थुन्सेदेखि नेपालको हिमाल, बुद्धको मूर्ति, दुई देशको झण्डाअंकित लगायतका उपहार हस्तान्तरण गरेका हुन्। मेयर भट्टराई र ओखावा हिदेकोबीच बिहीबार भेटघाट भएको हो। खोटाङका शैक्षिक अभियान्ता सूर्य राईले सामाजिक सञ्जालमा ‘मेयर भट्टराईले आफ्नो नगर र आफ्नो देशको मौलिक, साँस्कृतिक पहिचानजन्य सामग्री जापान पुर्‍याउनु गौरवको विषय भएको’ प्रतिक्रिया दिएका छन्। मेयर भट्टराईले तोचिगी नगरका मेयर सामु ‘नेपाल र जापानको घनिष्ठ र मित्रवत सम्वन्ध अमर बनाउन तोचिगी आएको’ बताएका थिए। भेटघाटका क्रममा मेयर भट्टराईले मेयर ओखावा हिदेकोलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका भ्रमणका लागि निमन्त्रणा दिएका छन्। ‘जापानको सडक, शिक्षा, कृषि, फोहोर व्यवस्थापन र सरसफाई, अतिथि सत्कारको संस्कृति, कामप्रतिको लगाव र कर्तव्यबोध गर्ने जापानी नागरिकको विषयमा जति बढेको र सुनेको थिएँ,’ मेयर भट्टराईले भने, ‘यहाँ आएर प्रत्यक्ष हेरेपछि मैले पढेको र सुनेको भन्दा अझ धेरै गुणा पाएँ।’ गत मंसिर ९ गतेको मन्त्रिस्तरीयनिर्णय अनुसार भट्टराई पुस २९ गते भ्रमणका लागि जापान गएका हुन्। मेयर भट्टराईको स्वागतमा तोचिगी नगरको गेटदेखिभित्र नेपाल र जापानको राष्ट्रिय झण्डा लहरै राखिएको थियो। भट्टराई गेटबाट प्रवेश गरेलगत्तै दायाँ–बायाँ बसेका कर्मचारीले नेपाल र जापानको राष्ट्रिय झण्डा हल्लाउँदै स्वागत गरेका थिए। तोचिगी नगरले मेयर भट्टराईलाई दिइएको सम्मानले गौरवान्वित बनाएको आरआरएनए तोचिगी अध्यक्ष मन्दीप क्षेत्रीले बताएका छन्। तोचिगीमा १५ वर्षदेखि बसेर एसएमएस सञ्चालन गर्दैआएका महेश लुईटेलले मेयर भट्टराईलाई दिइएको सम्मान यसअघि तोचिगीको सरकारी स्तरमा कहिल्यै नभएको प्रतिक्रिया दिएका छन्। दुई नगरका प्रमुखबीचको भेटले दीर्घकालिन सम्बन्ध स्थापित गर्न कोसेढुंगा सावित हुने र भगिनी सम्वन्ध स्थापित हुने संकेतका मिलेको शेर्पा ट्रेडलिंक कम्पनी जापानका अध्यक्ष निमा शेर्पाले बताए।
काष्ठकला उद्योगबाट मनग्य आम्दानी गर्दै रसाइली धनकुटा। सीप भए विदेश वा कतै भौँतारिनु पर्दैन, जहाँ बसेर पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण हुन् मोरङको शनिश्चरेबाट धनकुटा बसाइँसराइ गरी आउनुभएका कृष्ण रसाइली। धनकुटालगायत पहाडी जिल्लाका धेरै नागरिक सेवा सुविधा र रोजगारका लागि तराइमा बसाइँसराइ गर्न लहर चलेको छ। तराईमा जमिन किन्न होडबाजी छ। तर त्यसको विपरीत ४० वर्षीय रसाइली भने काष्ठकला उद्योग सञ्चालनका लागि पाँच वर्षअघि बसाइँसराइ गरी धनकुटा आए। रसाइली मोरङको पथरी शनिश्चरे नगरपालिका–८ बाट महालक्ष्मी नगरपालिका वडा नं ९ को ग्रामीण क्षेत्रमा आएका हुन्। विसं २०६३ मा उनी रोजगारका सिलसिलामा मलेसिया गएका थिए। सोचेजस्तो पारिश्रमिक नपाउँदा खान–बस्नसमेत नपुगेपछि रसाइली त्यहाँबाट भागेर अवैधानिकरूपमा साढे चार वर्ष अन्यत्र सुरक्षा गार्डका रूपमा काम गरे। सो समयमा मासिक रु १८ हजार नेपाली तलबमा काम गरेका रसाइली अनधिकृतरूपमा काम गरेको आरोपमा जेल परेर २०६८ सालमा नेपाल फर्किनुभयो । उहाँले भन्नुभयो, “विदेश बसेर पैसा कमाउन सकिएन, नेपाल आएर पुख्र्यौली पेसामा लागेँ ।” पुख्र्यौली पेसा काठको काम गर्ने (चुँदार) भएकाले रसाइली सोही कामका लागि सात वर्षअघिबाट धनकुटाका विभिन्न खोलामा काठका सामान बनाउँदै आएका छन्। पानीघट्टको सहाराले काठलाई कुँदेर गरिने कामलाई रसाइलीले व्यावसायिक बनाए। रसाइलीले अनुभवका आधारमा सम्भावना देखेर २०७५ देखि घरमै उद्योग सञ्चालन गरे। दुई वर्षअघि घरेलु ठेकी तोङ्वा उद्योग दर्ता गरेका रसाइलीले मासिक रु २० हजार पारिश्रामिक दिएर दुई सहयागीे र रु ५५ हजार पारिश्रमिक दिएर तीन कालिगढ राखेका छन्। साठीदेखि ७० प्रकारका काठका सामग्री बनाएर बिक्री गर्दैआउनुभएका रसाइलीले एउटा सामानको रु दुई सयदेखि रु २२ हजारसम्ममा बिक्री गर्दै आएका छन्। वार्षिक रु २५ लाखदेखि रु ४० लाखसम्म कारोबार गरेर मासिक रु दुई लाख कमाइ गरिरहेका रसाइलीले भने, “श्रम र सीप हुनेलाई नेपालमै काम र दाम पर्याप्त छ।” समय र उमेर रहेकै बेला विदेश र अन्यत्र भौतारिनुभन्दा बेलैमा सीप सिकेर उद्यमशील बन्नुपर्ने युवाहरूलाई उनको सुझाव छ। कुनै तालिम नलिई युट्युबमा हेरेर विभिन्न सामग्री तयार गरेर रसाइलीले ताप्लेजुङ, इलाम, सुनसरी, झापा, काठमाडौँ लगायत क्षेत्रमा बेच्दै आएका छन्। महालक्ष्मी नगरपालिकाको जीतपुर बजारमा हरेक वर्षको श्रीपञ्चमीमा लाग्ने वसन्त पञ्चमी मेलामा कक्ष लिदैआएका रसाइलीले आफ्नो व्यवसाय प्रवद्र्धनमा नगरपालिकाले सहयोग गरेको बताए। – रासस
टरिगाउँमा आजदेखि सीता एयरले उडान भर्दै तुलसीपुर। दाङको तुलसीपुर-१२ टरिगाउँस्थित विमानस्थलमा निजी विमानले पनि सेवा दिने भएका छन्। त्यसका लागि निजी विमान कम्पनी सेवा सीता एयरले आज (शुक्रबार) परीक्षण उडान गर्ने भएको छ। तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीका अनुसार दिउँसो १ बजे सीता एयरको १९ सिटे विमानले परीक्षण उडान भर्ने भएको हो। “शुक्रबारदेखि निजी विमान पनि बस्ने भएको छ, सीता एयरले उडान भर्दैछ”, उनले भने, “निजी विमान उडान सुरु भएपछि भाडा पनि सस्तो हुने हाम्रो अपेक्षा छ।” ठूलो सङ्घर्षपछि तुलसीपुरमा निजी विमानले सेवा दिन थालेको हो। उपप्रमुख चौधरीले अहिले धावनमार्गको डिपिआरको काम भइरहेको भन्दै त्यो सकेपछि तत्काल हालको धावनमार्गलाई विस्तार गरेर निजी कम्पनीका ठूला जहाज बसाल्ने योजना रहेको बताए। उनले जसरी पनि ७२ सिटे जहाज बसाल्ने गरी आफूले तयारी गरेको बताए। तुलसीपुर उपमहानगरपालिकाले उपप्रमुख स्यानी चौधरीको नेतृत्वमा समिति नै बनाएर विमानस्थल विस्तारका लागि पहलकदमी अगाडि बढाएको छ। सोहीअनुसार निजी विमान तुलसीपुरमा आउन लागेको हो। हाल नेपाल वायु सेवा निगमको १९ सिटे ट्वीनअटर हप्तामा चार दिन तुलसीपुरमा उडान भर्ने गरेको छ। आइबार, मङ्गलबार, बिहीबार र शनिबार उडान हुने गरेको हो। हाल टरिगाउँबाटै इन्धन डिपो स्थापना भई सञ्चालनमा पनि आइसकेको छ। तर भाडा भने घट्न सकेको छैन। हाल दाङबाट काठमाडौँको न्यूनतम रु आठ हजार आठ सय १० र काठमाडौँबाट दाङको भाडा न्यूनतम रु नौ हजार बढीदेखि अधिकतम १२ हजारभन्दा बढी रहेको छ। निजी विमान सञ्चालन भएसँगै भाडा घट्ने अपेक्षा गरिएको छ। साथै हाल रहेको सात सय ५० मिटर लम्बाइ र ३० मिटर चौडाइ रहेको धावनमार्ग पनि विस्तार गर्न सकेमा ठूला जहाज बस्ने र भाडा पनि सस्तो हुने उपप्रमुख चौधरीको भनाइ छ।
सार्वजनिक यातायात सुधारका लागि कार्यदल गठन काठमाडाैं। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक यातायातको सुधारका लागि अध्ययन गर्न विज्ञसहितको कार्यदल गठन गरेको छ। उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सवारी प्रदूषण, सवारी सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी अध्ययन गर्न कार्यदल गठनको निर्णय गरेका हुन्। सात सदस्यीय कार्यदलको संयोजक पूर्वसचिव शरदचन्द्र पौडेल रहेका छन्। कार्यदलले अध्ययनलाई प्रतिवेदनका रूपमा पेस गर्ने छ। कार्यदलमा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा, पुल्चोक इञ्जीनियरिङ क्याम्पसका प्राध्यापक डा पदमबहादुर शाही, यातायातविज्ञ मधुसुदन आचार्य र इञ्जीनियर विजय गौतम सदस्य रहेका छन्। कार्यदलमा यातायात व्यवसायी महासङ्घका प्रतिनिधिसमेत सदस्य रहने छन्। कार्यदलमा यातायात व्यवस्था विभागका महानिर्देशक डा टोकराज पाण्डेय सदस्यसचिव रहेका छन्।
महोत्तरीमा छुट्टाछुट्टै दुर्घटनामा परी दुईको मृत्यु, २८ घाइते जलेश्वर । महोत्तरी जिल्लाको छुट्टाछुट्टै स्थानमा आज भएको दुईवटा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तोषकुमार पोखरेलका अनुसार मृत्यु हुनेमा जिल्लाको औरही नगरपालिका–२ बस्ने ६० वर्षीय गोगाई ठाकुर लोहार र नाम, थर, वतन नखुलेको अन्दाजी ५० वर्षीया एक महिलाको सडक दुर्घटनामा परी मृत्यु भएको हो । लोहारलाई औरही नपा–२ स्थित सडकमा पैदल हिँड्दै गरेको अवस्थामा सर्लाही जिल्लाको बरहथवा नगरपालिका–३ बस्ने रोशनलाल महतोको ना३७प ७२३१ नंको मोटरसाइकलले ठक्कर दिँदा मृत्यु भएको हो । त्यसैगरी आजै सिन्धुली जिल्लाको लङ्गुरखोला महादेवको दर्शन गरेर फर्किँदै गरेको प्रदेश२–०२–००१त २२६४ नंको ट्र्याक्टर बर्दिबास नगरपालिका–३ स्थित पाटुमोडमा आफँै अनियन्त्रित भई दुर्घटना हुँदा नाम, थर, वतन नखुलेको ५० वर्षीया महिलाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक पोखरेलले बताए । सो दुर्घटनामा परेर अन्य २८ यात्रु घाइते भएका छन् । घाइतेमध्ये १२ जनाको उपचार बर्दिबासस्थित जनसेवा अस्पताल, नौको साइमल्टी स्पेस्लिटी अस्पताल र सात जनाको उपचार शुभस्वस्तिक अस्पताल बर्दिबासमा भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएका यात्रुहरू महोत्तरी, धनुषा र केही भारतीय रहेको बताइएको छ ।
भ्रष्टाचार आरोप लागेका नासुलाई सफाइ काठमाडौं । भ्रष्टाचार अभियोग लागेका नायब सुब्बा देवीबहादुर थापालाई विशेष अदालतले सफाइ दिएको छ । न्यायाधीशत्रय रमेशकुमार पोखरेल, शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाको इजलासले उनलाई सफाइ दिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसै वर्ष १२ वैशाखमा दायर गरेको मुद्दामा सफाइ दिने फैसला भएको हो । भन्सार जाँचपास परीक्षण कार्यालय, तीनकुनेमा नासु पदमा कार्यरत थापाले १ करोड ८७ लाख ४७ हजार रुपैयाँभन्दा बढी गैर कानुनी रूपमा आर्जन गरी भ्रष्टाचार गरेको अख्तियारको अभियोग थियो । अनुसन्धानका क्रममा थापाले उक्त सम्पत्ति आफूसहित बाबु कृष्णबहादुर र आमा चन्द्रमाया थापाका साथै श्रीमती विमसा राउतका नाममा राखेको देखिएपछि जफत प्रयोजनका लागि उनीहरूलाई पनि विपक्षी बनाइएको थियो । तर, उनीहरू सबैले सफाइ पाएका हुन् ।
हिउँ पन्छाएपछि फेरि सुरु भयो हवाई सेवा जुम्ला । जुम्लालगायत माथिल्लो कर्णालीमा मङ्गलबारदेखि परेको हिमपातका कारण बन्द भएको हवाई सेवा आजदेखि फेरि सुरु भएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र बलले जुम्ला विमानस्थलको धावनमार्गमा जमेको हिउँ हटाएपछि नेपालगञ्जबाट तारा र समिटले जुम्लाका लागि उडान गरेको नागरिक उड्डयन प्राधिकरण जुम्लाका निमित्त कार्यालय प्रमुख राजीव श्रेष्ठले जानकारी दिए । दुई दिन परेको हिउँले विमानस्थलको धावनमार्गमा हिउँ जमेपछि हवाई सेवा ठप्प भएको थियो । निमित्त कार्यालय प्रमुख श्रेष्ठले भने, “आजका लागि दुई वटा मात्रै उडान भएको छ ।” विमानस्थलभित्रको धावनमार्गमा जमेको हिउँ फालेपछि जुम्लाका लागि हवाई सेवा सञ्चालनमा आएको नेपाली सेना नन्दबक्स गण जुम्लाका गणपति रवीन थापाले बताए । हवाई सेवा बन्द हुँदा नेपालगञ्जबाट जुम्ला आउने यात्रु अलपत्रमा परेका थिए । कर्णाली राजमार्गको राचुलीमा पहिरो गएपछि सडक बन्द हुँदा जहाजबाट आउने जानेको चाप बढेको छ ।
सुर्खेतमा पाँच जनामा दादुरा संक्रमण पुष्टि सुर्खेत। सुर्खेतमा पाँच जनामा दादुरा संक्रमण पुष्टि भएको छ। यहाँका तीन पालिकाका पाँच जनामा दादुरा संक्रमण पुष्टि भएको हो। वीरेन्द्रनगरमा तीन, गुर्भाकोट र चिङ्गाड गाउँपालिकामा एक-एक जनामा दादुरा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी पदमबहादुर केसीले जानकारी दिए। छिमेकी जिल्ला बाँकेमा दादुरको संक्रमण तीव्र भइरहेका बेला सुर्खेतमा पनि संक्रमण देखिएकाले सतर्कता अपाउन उनले सुझाव दिए। दादुरासँग मिल्दोजुल्दो लक्षण भएका बिरामी देखिएपछि परीक्षण गर्दा दादुरा पुष्टि भएको केसीको भनाइ छ। दादुराका बिरामी भेटिएपछि प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेतले अहिले विभिन्न ठाँउमा परीक्षण र खोप अभियानलाई तीव्रता दिएको छ। नेपालले सन् २०१९ भित्र दादुरा उन्मूलन गर्ने लक्ष्य राखेको थियो। पुसको दोस्रो हप्तादेखि बाँकेमा फैलिएको दादुरा संक्रमण अझै नियन्त्रमा आइसकेको छैन। हालसम्म बाँकेको नेपालगन्जसहित जिल्लाको अन्य विभिन्न ठाउँहरूमा गरी २०० भन्दा बढी दादुरा संक्रमित बालबालिका भेटिसकेका छन् भने एकजना बालकको मृत्युसमेत भइसकेको छ।
बिक्रीस्थलमा सुर्तीजन्य पदार्थको विज्ञापन गर्न नपाइने काठमाडौं। सरकारले सुर्तीजन्य कम्पनीलाई बिक्री स्थलमा सुर्तीजन्य पदार्थको विज्ञापन बन्द गर्न निर्देशन दिएको छ। राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनीलराज शर्माले सुर्तीजन्य कम्पनीले आफ्नो कम्पनीको चुरोट, सुर्तीको दररेटसहित विज्ञापन गरेको पाइएकाले बन्द गर्न निर्देशन दिएको जानकारी दिए। उनले कम्पनीले खुद्रा किराना पसल, होलसेल किराना पसललगायत अन्य पसलको बिक्रीस्थलमा आफ्नो कम्पनीको नाम र दररेटसहित चुरोट, गुट्खा र बिँडीको मूल्यसूची राखेर विज्ञापन गरेको पाइएकाले बन्द गर्न निर्देशन दिएको बताए। उहाँले सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ को दफा १०, सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन निर्देशिका, २०७१ को दफा ४० र दफा ४१ तथा जनस्वास्थ्य ऐन, २०७५ को दफा ४५ विपरीत ती कम्पनीले पसल अगाडि चुरोट, गुटखा र बिँडीको नाम र मूल्यसहित पोस्टर टाँस गरेको पाइएकाले रोक्न निर्देशन दिएको बताए। उनले चुरोट, गुट्खा र बिँडीको मूल्यसहित पोस्टर टाँस गरिएमा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन ऐन, २०६८ को दफा १७ र जनस्वास्थ्य ऐन, २०७५ को दफा ५३ बमोजिम उक्त चुरोट कम्पनीलाई जरिवाना गरिने बताए।
मिथिलाञ्चलमा आज हलो र गोरुको पूजा गरिँदै जलेश्वर। वसन्त पञ्चमीको अवसरमा महोत्तरी जिल्लासहित सम्पूर्ण मिथिलाञ्चलका किसानद्वारा आज हलो र गोरुको पूजा गरिँदै छ। पिँढीदर पिँढीरुपमा मिथिलाञ्चलभरिका किसानले आजका दिनलाई कृषि कार्यको सुरुआत मान्दै आजका दिन एकाबिहानै हलो र गोरुको पूजा गर्दै आएकाले आज एका बिहानै महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलका हजारौँ किसानले हलो गोरु पूजा गरिहेका जलेश्वर नगरपालिका-८ का किसान रामबाबु चौधरीले बताए। आज एका बिहानै किसानले आ-आफ्ना आँगनमा गाईको गोबरले लिपपोत गरेर, फूल माला, अक्षेता, अबिर, चामल, लड्डुलगायतका वस्तुसहित आँगनमा हलो राखेर पूजाआजा गरिरहेका छन् भने घर बाहिर गोरुलाई नुहाई नयाँ रङ्गीचङ्गी डोरी, माला लगाएर तीनको पूजा गरिरहेका छन्। त्यस्तै किसानले हलो र गोरुको पूजा गरिसकेपछि नजिकैको खेतमा लगेर आज एकछिन जोत्ने चलनअनुसार खेतबारी पनि जोत्नेछन्। आजका दिन धेरै किसानले नयाँ किनेको गोरुलाई पहिलोपटक खेत जोत्न लगाउने तथा बाछोबाट गोरुको रुपमा तयार भइसकेकालाई समेत आजका दिनबाटै गोरु बनाउने चलन रहेको जलेश्वर नगरपालिका-६ का किसान गणेश साहले बताए। किसानले आजका दिन हलोमा धार लगाउने कोदालो धारिलो पार्ने तथा हँसिया र खुर्पासहितको कृषि औजारहरुलाई नयाँ धार लगाएर एकछिन प्रयोगमा ल्याउने गर्दछन्। श्रीपञ्चमी वा वसन्त पञ्चमीको अवसरमा किसानले अरवा चावलमा सख्खर मिलाएर एक किसिमको कृषि प्रसाद तयार पार्दछन् भने हलो र गोरुको पूजा गरेर हलो जोतेर एक आपसमा अबिर दल्ने तथा प्रसाद वितरण गरेर यो पूजा सम्पन्न गर्दछन्। मिथिलाञ्चलका किसान आजका दिनबाट आफ्नो खेतीपाती सुरु भएको समेत मान्दछन् भने आजैका दिनबाट आ-आफ्ना बाँझो खेतबारीसमेत जोत्ने कामको शुभारम्भ गर्दछन्। हलो गोरु पूजाको अवसरमा मिथिलाञ्चलको गाउँ गाउँमा सयौँ गोरु एक्कैसाथ कुदिरहेको तथा किसानको काँधमा हलो लहरैरुपमा राखेर गइरहेको हेर्दा सबैको मन खुसीले गद्गद् हुन्छ। हलो र गोरु पूजा महोत्तरीको सदरमुकाम जलेश्वर लगायत जिल्लाको १० नगरपालिका ५ गाउँपालिका गरी १५ वटै स्थानिय तहको सयौँ गाउँमा धुमधामका साथ मनाईदै आएको छ भने मिथिलाञ्चलको प्रत्येक जिल्ला तथा गाउँगाउँ र भारत बिहारमा पनि यो पूजा मनाउने चलन रहेको जलेश्वर नगरपाकिला–११ का वयोवृद्ध किसान किशुन विच्छा बताउँछन्। पछिल्लो केही वर्षदेखि खेतीपातीमा ट्र्याक्टर, पावर टिलरलगायतका यन्त्र भित्रिए पनि सबै खेतबारीमा सहजरुपमा ती यन्त्र पुग्न नसक्ने, आफूले चाहेअनुसारको खेतबारी खनजोत गर्न नसक्ने हुनाले तराई मधेसमा अझै पनि खेतीपातीको लागि हलो गोरु निकै लोकप्रिय र भरपर्दो तथा प्रमुख साधनको रुपमा रहेको जलेश्वर नगरपालिका-९ का किसान भोगी कापर बताउँछन्। त्यसैले आजका दिन तराई मधेस तथा सम्पूर्ण मिथिलाञ्चलभरका किसानका लागि पर्व र ठूलो मेलाको दिने रहँदै आएको छ। रासस
किसानलाई सहजरुपमा मल उपलब्ध गराउँछुः कृषिमन्त्री साह कलैया । कृषिमन्त्री ज्वालाकुमारी साहले कृषि क्षेत्रको बेथिति सुधार गर्दै किसानलाई सहजरुपमा मल उपलब्ध गराउने बताएकी छन् । बारा उद्योग वाणिज्य सङ्घले आज यहाँ आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले किसानले भोग्दै आएका समस्यालाई क्रमशः सुधार गरेर अगाडि बढ्ने बताइन् । उनले मुुलुक कृषि क्षेत्रको विकासमार्फत् नै आत्मनिर्भर हुने भन्दै कृषि क्षेत्रका योजना कार्यान्वयनको प्रतिबद्धता व्यक्त गरिन् । मन्त्री साहले कलैयामा आधुनिक कृषि बजार निर्माण गर्ने भन्दै कृषि बजार बनाउन छिट्टै प्रक्रिया सुरु गर्ने बताइन् । जिल्लामा उद्योगी व्यापारीले भोग्दै आएको समस्या समाधानका लागि आफूले पहल लिने उनको भनाइ छ । कार्यक्रममा संविधानसभाका सदस्य प्रमोद गुप्ता, बारा नागरिक समाजका अध्यक्ष उमेशलाल दास, सङ्घका पूर्वअध्यक्ष तेजनारायण साह, सङ्घका वर्तमान महासचिव रामअशिष साहलगायतले आफ्नो विचार व्यक्त गर्दै जिल्लाको सम्रग विकासमा चासो राखेर काम गर्न मन्त्री साहलाई आग्रह गरेका थिए ।
रक्षामन्त्रीद्वारा द्रुतमार्गको निरीक्षण काठमाडौं । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले निर्माणाधीन काठमाडौँ–तराई मधेस द्रुतमार्ग (फाष्ट ट्रयाक) आयोजनाको निरीक्षण गरी भइरहेका काम कारबाही र प्रगतिबारे जानकारी लिएका छन् । उनले निर्माणाधीन सुरुङ, पुल र सडकको अवलोकन गर्नुका साथै आयोजना अघि बढाउने सन्दर्भमा भइरहेका प्रयास र प्रयत्नबारे आवश्यक जानकारी लिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । मुलुकका राष्ट्रिय गौरवका आयोजनामध्ये सबैभन्दा प्राथमिकतामा रहेको उक्त आयोजना नेपाली सेनाको व्यवस्थापनमा आगामी आगामी विसं २०८१ सम्ममा पूरा गर्ने लक्ष्यका साथ अघि बढिरहेको छ । आयोजना निरीक्षणपछि मन्त्री उप्रेती आयोजनालाई तोकिएको समयावधिभित्र पूरा गर्न उच्च मनोबलका साथ काम गर्न सेनालाई निर्देशन दिए । काठमाडौँ, ललितपुर, मकवानपुर हुँदै बाराको निजगढमा पुगेर पूर्वपश्चिम राजमार्गमा जोडिने द्रुतमार्ग निर्माणपछि मुलुकको विकास र समृद्धिमा ठूलो योगदान पुग्ने अपेक्षा राखिएको छ । एसियाली सडकको मापदण्डअनुरुप निर्माण हुने उक्त राजमार्गमा लामा र छोटा गरी ८७ वटा पुल र तीन वटा सुरुङ रहने छन् । करिब ७२ दशमलव छ किमी लम्बाइको उक्त द्रुतमार्गका हालसम्म भौतिक प्रगति १९ र वित्तीय प्रगति २१ प्रतिशत रहेको छ ।
हिउँ पहिराले कर्णाली राजमार्ग अवरुद्ध जुम्ला । हिउँ पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । बुधबार कालीकोटको तिलागुफा नगरपालिका–४ स्थित राचुलीमा पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय जुम्ला प्रहरी नायक उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए । जुम्लाबाट नेपालगञ्जतर्फ जाँदै गरेको गाडी पहिरोमा फसेको प्रहरीले जनाएको छ । पहिरो खुलाउने पहल भइरहेको छ । राजमार्ग अवरुद्ध भएपछि यात्रु अलपत्र परेका छन् । सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख राजीव श्रेष्ठका अनुसार राजमार्गमा खसेको पहिरो खुलाउने काम भइरहेको छ । हिमपातले राजमार्गसमेत अवरुद्ध हुन थालेको छ ।
अझै परेन हिउँ ताप्लेजुङ। अघिल्ला वर्षमा ताप्लेजुङका उत्तरी हिमाली क्षेत्रमा पुस लागेदेखि नै हिमपात सुरु हुन्थ्यो। अग्ला पहाडका चुचुरा र हिमाल हिउँले सेताम्मे देखिन्थे। तर यो वर्ष माघ महिना मध्य हुन लाग्दा पनि हिमपात भएको छैन । सधँै हिउँले सेताम्मे देखिने डाँडाकाँडा कालापत्थर झैँ देखिन्छन्। स्थानीयवासी छेतेन शेर्पाका अनुसार करिब तीन हजार मिटरको उचाइमा पर्ने ओलाङ्चुङगोलामा अघिल्ला वर्षको माघ महिनामा दुई फिट भन्दा बढी हिउँ जम्थ्यो। उच्च क्षेत्रमा पर्ने मानव बस्ती याङ्मा, घुन्सालगायतका क्षेत्रमा पनि हिउँ परेको छैन। पुसदेखि नै हिउँ पर्ने र चिसो बढ्ने भन्दै उच्च क्षेत्रका कतिपयले पुस अन्तिमदेखि घर छाडेर अन्यत्र निस्किएका छन्। बर्सेनि हिमपातको समयमा याङ्मा, घुन्सा, ओलाङ्चुङगोला लगायतका कतिपय मानिस अन्यत्र जाने गर्छन्। सधँैका वर्षमा जस्तो चिसो पनि नबढेको स्थानीयवासीले बताए। लामो समयदेखि वर्षा नभएको र मौसम सफा रहेको ओलाङ्चुङगोलाका छेतेन शेर्पाको भनाई छ। “विगतका वर्षमा पुसदेखि नै हिमपात सुरु हुन्थ्यो, अहिले न वर्षा न त हिउँ नै। पूरै खडेरी चलेको छ, दिनहुँ टन्टलापुर घाम लाग्छ, चिसो हुनेबेलामा न्यानो छ”, शेर्पाले भने। समयमा वर्षा र हिउँ नपर्दा किसानलाई समस्या भएको उनले बताए। आलु रोप्ने मौसम नजिकिँदै गएकाले यतिबेलादेखि नै जमिनमा चिस्यान आवश्यक हुने शेर्पाको भनाइ छ। “उच्च क्षेत्रमा बसोबास गर्नेको मुख्य खेती आलु पनि हो, आलु रोप्ने बेला नजिकिएको छ, आलु रोप्ने समयमा चिस्यान भएन भने समस्या हुन्छ, अन्य तरकारी फलफुल खेतीसमेत लाउन पाइदैन”, उनले भने। यस्तै आगलागीकोसमेत जोखिम हुने शेर्पाले बताए। खडेरीका कारण चरन क्षेत्र लगायतमा आगलागी हुन सक्ने भएकाले थप समस्या हुने उनले बताए। बर्सेनि ढिलो गरी हिउँ पर्ने क्रम बढ्दै गएको स्थानीयवासी बताउँछन्। पछिल्ला केही वर्षयता हिमपात न्यून हुने र अर्कातिर समयमा नहुने गरेको पाइएको स्थानीयवासीले बताए। हिमपात र वर्षा नहुँदा हिमाली क्षेत्रका किसानलाई मात्रै नभइ तल्लो भेगका किसानलाई समस्या छ। गहुँ, जौ, तोरी, मकैलगायतका बालीनाली लगाउने मौसम सुरु हुन लाग्दासमेत खडेरी निरन्तर रहेकाले किसान चिन्तामा परेका छन्। यस्तै हिमपात समयमा नहुँदा वन्यजन्तुमासमेत असर पर्ने बताइन्छ। हिउँ परेको वातावरणमा बस्न रुचाउने हिउँ चितुवा, कस्तुरी, ब्वाँसो लगायतका जनावरलाई समस्या हुने बताइन्छ।
कर्णालीमा हिमपातले यातायातदेखि सञ्चार सेवा प्रभावित, चिसाे छल्न जनप्रतिनिधि सहर पसे सुर्खेत। भारी दुई दिनदेखिको हिमपातका कारण यातायातको पहुँचदेखि विद्युत् सेवाको पहुँच नभएको हुम्ला, मुगु र डोल्पामा हिमपातले यहाँ सञ्चार सेवासमेत अवरुद्ध भएकाे छ। सौर्य ऊर्जाबाट सञ्चालन हुने यहाँको फोन सेवा लगातार तीन दिनदेखि घाम नलाग्दा फोन सेवा अवरुद्ध भएको हो। यहाँका सर्वसाधारणहरुले के गरिरहेका छन् भन्ने जानकारी लिन मुस्किल भएको छ। कर्णाली प्रदेशको सबैभन्दा ठूलो समस्य पनि यही रहेको छ। सदरमुकाममा रहेका टावरहरु सञ्चालनमा रहे पनि गाउँमा रहेका सबै टावर बन्द भएका छन्। भेरी करिडोरअन्तर्गत जाजरकोट-डोल्पा सडक खण्डमा यातायात सेवा प्रभावित भएको छ। हुम्लाको यारी, हिल्सा नाका जाने र आउने बाटो अवरुद्ध भएको छ। त्यस्तै लिमी जाने बाटोसमेत हिमपातले अवरुद्ध भएको छ। उपल्लो डोल्पा र मध्य डोल्पाको सम्पर्कविच्छेद भएको छ। कर्णाली राजमार्गअन्तर्गत जुम्लादेखि मुगुसम्म सञ्चालन हुने यातायात सेवा समेत प्रभावित भएको छ। कर्णाालीका डोल्पा, मुगु, हुम्ला र जुम्लामा अत्याधिक हिमपात भएको छ। जाजरकोटको उत्तरी क्षेत्र, रुकुम पश्चिमको उत्तरी क्षेत्रमा समेत हिमपात भएको छ। लामो समयदेखि काला देखिएका यहाँका हिमालहरु सेताम्य भएका छन्। अग्ला ठाउँमा रहेका सबै बस्तीहरु हिमपातका कारण सेताम्य भएको सर्वसाधारणले बताएका छन्। सबैभन्दा बढी हिउँको प्रभाव हिमाली जिल्लामा देखिएको छ। डोल्पाको जुफाल, हुम्ला सिमकोट र मुगुको ताल्चा विमानस्थलमा हिउँ जमेका कारण हवाइ सेवा समेत दुई दिनदेखि ठप्प भएको छ। लामो समयदेखि पानी नपरेर अकाशे पानीको भरमा लगाएको खेतीबालीमा भने राहत पुगेको छ। उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिकामा हिमपातकै बीचमा लोसार पर्व बनाइने काम जारी रहेको गाउँपालिका उपाध्यक्ष प्रेमा दोर्जेले बताए। हिमाली क्षेत्रमा भारी हिमपात हुँदा पशुचौपायदेखि स्थानीयवासीलाई आवतजावत गर्न, घाँसपात जुटाउनसमेत समस्या परेको छ। छार्काताङसुङका निमा गुरुङका अनुसार हिमपातले पानी जमेका कारण जनजीवन मुस्किल हुँदै गएको छ। हुम्ला, मुगु र डोल्पाका जनप्रतिनिधिहरु नेपालगन्ज ,सुर्खेत र काठमाडौँमा बसेर चिसो महिना बिताएर दुर्गमको तलबभत्ता बुझ्ने गरेका छन्। जाजरकोट, रुकुम पश्चिम, सल्यान, सुर्खेत र दैलेखमा परेको पानीका कारण यस क्षेत्रमा लगाएको गहुँबालीदेखि बेमौसमी तरकारी बालीमा राहत पुगेको किसानहरुले बताएका छन्। विकास निर्माणका कामहरू पानी परेका कारण जमिन खन्न सजिलो हुने भएपछि उपभोक्ता समितिहरू खुसी भएका छन्। हिमाली जिल्लाहरूमा भने चिसो मौसममा पुरै विकास निर्माणका कामहरु ठप्प हुने गर्दछन्। वैशाखदेखि मात्र विकास निर्माणका कामहरु सूचारु हुने त्यहाँका कर्मचारीहरुले बताएका छन्। अहिले हिमपात कारण विकासे काम गर्न मुस्किल हुँदै आएको छ। कात्तिकदेखि वैशाखसम्म विकासका कामहरु ठप्प हुने गरेको पाइन्छ। चिसो र हिमपातको कारण देखाउँदै विकास निर्माणको कामहरू रोक्दै आएको पाइन्छ। यहाँका विद्यालय समेत बन्द रहेका छन्। अन्य ठाउँमा वैशाखदेखि सुरु हुने नयाँ शैक्षिक सत्र हिमाली जिल्लामा भने फागुनदेखि सुरु भएर पुस महिनामा विदा हुने गर्दछ।
भोजपुरमा चिराइतो खेतीबाट किसान लाभान्वित भोजपुर। बहुउपयोगी जडीबुटी चिराइतोले उचित मूल्य पाएपछि यहाँका किसान उत्साहित बनेका छन्। केही वर्षदेखि निरन्तर ओरालो लागिरहेको चिराइतोको मूल्य बढेपछि किसानमा उत्साह थपिएको हो। दुई–चार वर्षअघिसम्म प्रतिमन रु आठदेखि १० हजार मूल्यमा बिक्री गर्न बाध्य भएका किसान यस वर्ष प्रतिमन रु तीस हजारमा घरबाटै बिक्री भएपछि उत्साहित भएका छन्। यहाँका अधिकांश स्थानीयले चिराइतोको व्यावसायिकरूपमा खेती गर्दै आएका छन्। गत वर्षदेखि मूल्यमा वृद्धि भएपछि खेतीप्रति आकर्षण बढेको भोजपुरको टेम्केमैयुङ गाउँपालिका–१ तिम्माका गुणराज राउतले बताए। विगतमा निराशा थपिएको भए पनि मूल्य बढ्न थालेपछि चिराइतो कृषक उत्साहित भएको राउतको भनाइ छ। “चिराइतोको मूल्यमा वृद्धि भएपछि उत्साह थपिएको छ”, उनले भने, “विगतको मूल्य हेर्दा निराशा थियो । प्रतिमन रु सात–आठ हजारमा पनि बेचियो। यस वर्ष घरबाटै प्रतिमन रु ३० हजारका दरले बिक्री भयो।” बीस रोपानी क्षेत्रमा खेती गरेको ठाउँमा आफूले १० मन उत्पादन गरेको उनको भनाइ छ। बजारमा त्यो भन्दा राम्रो मूल्य भए पनि किसानले भने सोचेजस्तो मूल्य अझै नपाएको उनको भनाइ छ। किसानले तलका व्यापारीले लगाउने मूल्य थाहा नपाउने हुँदा बिचौलियाले ठग्ने गरेको उनको भनाइ छ। “किसानलाई वास्तविक मूल्य थाहा पाउन कठिन छ”, उनले भने, “बिचौलियाको भरमा हामीले बिक्री गर्नुपर्ने अवस्था छ। झापाको विर्तामोड पाउने मूल्यको हामीलाई जानकारी हुँदैन। यहाँका ठेकेदारले भनेको आधारमा बिक्री गर्नुपर्छ। सरकारले मूल्य निर्धारण तथा बजारीकरणमा भूमिका खेलिदिए वास्तविक किसानलाई राहत पुग्ने थियो।” टेम्केमैयुङ गाउँपालिका–१ का करिब एक सय बढी कृषकले चिराइतोको व्यवसायिक खेती गरिरहेको राउतले जानकारी दिए। यहाँको सुम्लिखा, खम्बुखा, पाङखाङ, डाँडागाउँ सावाका किसान व्यावसायिक खेतीमा लागेका छन्। आफ्नो क्षेत्रबाट तीन सय मन बढी चिराइतो उत्पादन भएको कृषक राउतले जानकारी दिए। यहाँका किसानले आलु, मकै फल्ने बारीमा व्यावसायिक चिराइताको खेती गरिरहेका छन्। लेकाली भेग तथा चिस्यान क्षेत्र भएकाले यहाँ चिराइतोको पर्याप्त उत्पादन हुने गरेको छ। चिराइतोबाट आलु, मकैभन्दा राम्रो आम्दानी हुने स्थानीय कृषक देवेन्द्र राउतले बताए। यहाँका एक जना कृषकले औषतमा २० देखि ५० मन (४० केजीको एक मन) सम्म उत्पादन गर्ने उनले बताए। यस वर्ष साढे उन्नाइस मन चिराइलो बिक्री गरेको राउतको भनाइ छ। “मैले यो वर्ष रु पाँच लाख बढी आम्दानी गरेँ”, उनले भने, “मैले सुरुमा प्रतिमन रु २६ हजारले बेचेँ, अहिले प्रतिमन रु ३० हजारमा बिक्री भइरहेको छ।” चिराइतो बारीमा छरेको २६ देखि २७ महिनासम्ममा सङ्कलन गर्न सकिने कृषक प्रेम बस्नेतले बताए। आलु, मकैबाट रु ५० हजार आम्दानी हुने बारीमा चिराइतो खेती गरे रु पाँच लाखदेखि रु सात लाखसम्म आम्दानी लिन सकिने उनको भनाइ छ। चिराइतोले आलु, मकैभन्दा अलि ढिलो लाभ दिने गर्दछ। तालिम तथा आवश्यक ज्ञान पाएमा अझ राम्रो आम्दानी लिन सकिने उहाँको भनाइ छ। “पराम्परागतरूपमा खेती गरिरहेका छौँ”, बस्नेतले भने, “यसलाई आधुनिक तरिकाले खेती गर्न सके अझ बढी आम्दानी लिन सकिन्छ। हालसम्म राज्यबाट खासै सहयोग छैन। यसको खेतीसम्बन्धी तालिम तथा प्राविधिक सहयोग मात्र पाएमा पनि अझ सहज हुने थियो।” एकपटक सङ्कलन गरेर बेचेपछि सानो बिरुवा उत्पादनयोग्य हुन समय लाग्ने किसानको भनाइ छ। बर्सेनि आम्दानी लिन फरक–फरक जमिनमा खेती गर्नुपर्ने टेम्केमैयुङ गाउँपालिका–५ मझौलेकी गोमादेवी विष्टले बताए। अहिले विभिन्न गाउँबस्तीमा व्यापारीले धमाधम चिराइतो खरिद गर्न थालेको उनले बताए। “दुई–चार वर्षअघिसम्म चिराइतोले उचित मूल्य पाएको थिएन”, उनले भने, “पछिल्लो समयमा मूल्यमा वृद्धि भएको छ। अहिले घरबाटै प्रतिमन रु ३० हजारमा बिक्री भइरहेको छ।” “एघार रोपनी बारीमा चिराइतो खेती गरिरहेकी छु”, उनले भने, “विगतमा मूल्य घटेका कारण उत्साह कम थियो। तर गत वर्षबाट केही भए पनि मूल्य बढेको छ। मूल्य नपाउँदा प्रतिमन रु छ हजारमा बिक्री गरेको अनुभव पनि छ । अहिले पाएको मूल्य त धेरै राम्रो हो।” यस वर्ष यहाँबाट ५० हजार दुई सय ६२ किलो चिराइतो बाहिर गएको तथ्याङ्क रहेको जिल्ला वन कार्यालय भोजपुरले जनाएको छ। बाहिर लैजाने क्रम जारी रहेकाले यो परिमाण अझ वृद्धि हुनसक्ने कार्यालयले जनाएको छ। यहाँको करिब एक हजार हेक्टर क्षेत्रमा चिराइतो खेती गरिन्छ। भोजपुरको अधिकांश माथिल्लो भेगमा यसको व्यावसायिक खेती हुने गरेको छ। टेम्केमैयुङ गाउँपालिका–५ मझौले, तिम्मा, षडानन्द नगरपालिकाको किमालुङ, दोभाने, हेलौँछा, साम्पाङ, खार्तम्छा, आमचोक गाउँपालिकाको युँ, वासिङथर्पु, पौवादुङमा गाउँपालिकाको श्यामशिलालगायत ठाउँ चिराइतोका लागि मुख्य पकेट क्षेत्र हुन्। एक हजार पाँच सय मिटरदेखि दुई हजार पाँच सय मिटरसम्मको उचाइमा चिराइतो राम्रोसँग फस्टाउने गर्दछ। ज्वरो, दम रुघाखोकी, मधुमेह, पिसाब पोल्ने, पेटको जुका, सुन्निएको, पोलेको लगायतमा चिराइतो प्रयोग गर्न सकिन्छ। पात, डाँठ, जरालगायत भाग नै प्रयोग गर्न सकिन्छ। यहाँको चिराइतो भारत, चीन र बङ्गलादेशमा निर्यात हुने व्यवसायी बताउँछन्। युवराज विष्ट\रासस
बजेट अभावले तुलसीपुर बसपार्क निर्माणमा ढिलाइ तुलसीपुर। पहिलो चरणको काम पूरा भएको तीन वर्ष पुग्नै लाग्दा पनि तुलसीपुर बसपार्क निर्माणको दोस्रो चरणको काम अघि बढ्न सकेको छैन। बजेट अभावका कारण निर्माणमा ढिलाइ भएको हो। रु ३४ करोडको लागतमा बसपार्क निर्माण गर्न गुरुयोजना तयार भएको थियो। तुलसीपुर उपमहानगरपालिकासँग पर्याप्त बजेट भएन। त्यसैले बिभिन्न चरणमा काम गर्ने गरी निर्माण थालिएको थियो। पहिलो चरणमा नगर विकास समितिबाट रु १० करोड ५० लाख ऋण लिएर बसपार्क निर्माण अघि बढाइएको थियो। नगर विकास कोषले २०७४ सालमा ९० प्रतिशत ऋण र १० प्रतिशत अनुदानमा बजेट उपलब्ध गराएको थियो। “पहिलो चरणमा एक तलाको टर्मिनल भवन, ५२ व्यापारिक सटर, सार्वजनिक शौचालय तथा सडक र सडकबत्ती निर्माण गर्‍यौँ”, उपमहानगरपालिकाका इञ्जीनियर पवन योगीले भने । उक्त काम २०७६ सालमै सम्पन्न भएको थियो । “बजेट अभावले दोस्रो चरणको काम अघि बढ्न सकेको छैन”, उनले भने, “बाँकी काम रु २४ करोडमा नभ्याउने अवस्था छ। बजेट जुटाउनुपर्ने देखिन्छ ।” उपमहानगरपालिकाको आन्तरिक स्रोतबाट काम गर्ने सम्भावना नभएपछि कार्यपालिकाले नगर विकास समितिसँग ऋण माग गर्ने निर्णय गरेको छ । छैटौँ कार्यपालिका बैठकले दोस्रो चरणको कामका लागि ऋण माग गर्ने निर्णय गरेको हो । टर्मिनल भवनलाई तीन तला बनाउनुपर्ने, सडकबत्ती जडान गर्नुपर्ने, क्लब टावर, कम्पलेक्स निर्माण, ढल निकास, पम्प व्यवस्थापन, पार्किङस्थल व्यवस्थापनलगायतका काम अझै बाँकी छन् । पाँच बिघा क्षेत्रफलमा उक्त बसपार्क निर्माण गरिँदै छ । यातायात व्यवसायीले भने संरचना निर्माण संरचना निर्माण गर्न आफूहरूबाट कर उठाएको बताएका छन् । पार्किङ शुल्क पनि बढी लिने गरेको व्यवसायीको गुनासो छ । अझै पेट्रोलपम्प, क्यान्टिन, टर्मिनल भवन, यात्रु प्रतिक्षालय, स्वास्थ्य जाँच, सिसी क्यामेरा, ग्रिनपार्क, शौचालयलगायतको उचित व्यवस्थापन हुनसकेको उनीहरुको आरोप छ । विसं २०५३ अघि हाल उपमहानगरपालिकाको कार्यालयभन्दा दक्षिणतर्फको पार्कमा तुलसीपुर बसपार्क थियो । सो बसपार्क २०५३ फागुनमा पातुखोलाको किनारमा स्थानान्तरण गरिएको थियो । त्यसको २१ वर्षपछि आधुनिक बसपार्क निर्माण सुरु भएको हो । निर्माणको जिम्मा शिवशक्ति कन्स्ट्रक्सनले लिएको हो । रासस
भूकम्प पीडितलाई राहत उपलब्ध गराउन मुख्यमन्त्रीको निर्देशन अत्तरिया । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले बाजुराको स्वामीकार्तिक गाउँपालिकको मेला केन्द्र बिन्दु भइ आज दिउँसो २ बजेर ४३ मिनेटमा गएको पाँच दशमलव नौ रेक्टरको भूकम्पबाट प्रभावित क्षेत्रमा तत्काल उद्धार र राहत उपलब्ध गराउन निर्देशन दिएका छन् । उनले प्रदेश मुख्यसचिव, सामाजिक विकास मन्त्रालयका सचिव र प्रमुख जिल्ला अधिकारीसित सम्पर्क गर्दै उक्त निर्देशन दिएका हुन् । मुख्यमन्त्री रावललले तत्काल क्षतिको विवरण सङ्कलन गर्न निर्देशन दिएका छन् । क्षतिको विवरण आउने वित्तिकै थप राहतका कार्यक्रम घोषणा गरिने उनको सचिवालयले जनाएको छ ।
बागमती प्रदेशमा ११ मन्त्रालय कायम हुने मकवानपुर । बागमती प्रदेशमा ११ मन्त्रालय कायम हुने भएको छ । आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले हाल कायम रहेको १४ मन्त्रालयलाई घटाएर ११ मन्त्रालय बनाउने निर्णय गरेको हो । यसअघि मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई प्रदेशका प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा गठन गरिएको पाँच सदस्यीय कार्यदलले मन्त्रालय घटाउने सुझावसहित मुख्यमन्त्रीलाई प्रतिवेदन बुझाएको थियोे । सो प्रतिवेदनमा बागमती प्रदेशमा १४ मन्त्रालयलाई घटाएर ११ मन्त्रालय बनाउन उपयुक्त हुने सुझाव दिइएको थियोे । भोलि माघ ११ गते अपराह्नसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिएको छ । मुख्यमन्त्री जम्कट्टेलको अध्यक्षतामा यही पुस २६ गते तीन सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियोे ।
‘कोरोना रोकथाममा शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको योगदान बिर्सन सकिन्न’ काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले कोरोना भाइरसको सङ्क्रमण रोकथाममा शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालले पु¥याएको योगदान बिर्सन नसकिने बताएका छन् । अस्पतालको ८९ औँ वार्षिकोत्सवमा आज उनले कोरोना सङ्क्रमणजस्तो महामारीको रोकथाम र नियन्त्रणमा अस्पतालले महत्वपूर्ण योगदान दिएको बताउँदै त्यस कठिन घडीमा स्वास्थ्यकर्मीले उच्च मनोबलका साथ काम गरेको स्मरण गरे । उनले सङ्क्रमण रोकथाम र नियन्त्रणमा स्वास्थ्यकर्मीले पु¥याएको योगदानको प्रशंसा गरे । मन्त्री गिरीले कोरोना भाइरस सङ्क्रमण रोक्नका लागि निर्वाह गरिएको भूमिकाका आधारमा जस्तोसुकै महामारीलाई पनि सामाना गर्नसक्ने क्षमता अस्पतालका स्वास्थ्यकर्मीले देखाउने विश्वास व्यक्त गरे । उनले सबै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा कसरी पु¥याउन सकिन्छ भनेर सबैले सङ्कल्प गर्नुपर्ने समय आएको बताए । “सबै नागरिकलाई कसरी गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउन सकिन्छ भन्नेमा हाम्रो ध्यान जान जरुरी छ”, उनले भने, “सुदृढ स्वास्थ्य प्रणााली बनाउन सबै मिलेर काम गर्नुपर्छ ।” नेपालको स्वास्थ्य क्षेत्र भरपर्दो, अब्बल छ भनेर सावित गर्ने दायित्व हामी सबैको रहेको भन्दै मन्त्री गिरीले सबै रुपले स्वास्थ्य क्षेत्रलाई मर्यादित र जनतामुखी बनाउन आवश्यक रहेको बताए । उनले अस्पताललाई कम्तीमा पाँच सय शय्याको बनाउनुपर्नेमा जोड दिए । कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री डा तोसिमा कार्कीले अस्पतालको सेवालाई विकेन्द्रीत गरेर अन्य ठाउँबाट पनि सरुवा रोगका बिरामीको उपचार गर्नुपर्ने बताइन् । उनले कोरोना भाइरसका बेला देशै भयभित रहेको अवस्थामा अस्पतालले पु¥याएको सेवा कहिल्यै बिर्सन नहुने बताइन् । मन्त्रालयकी सचिव देवकुमारी गुरागाईंले अस्पताललाई चाहिने जनशक्ति उपलब्ध गराउन मन्त्रालय लागिपरेको बताइन् । उनले तीन सय शय्याका लागि मन्त्रालयले दरबन्दीको व्यवस्थापन गर्न थालेको समेत जानकारी दिइन् । मन्त्रालयका अतिरिक्त सचिव डा सङ्गीता कौशल मिश्राले अस्पतालले कोरोना भाइरसको बेला मात्र नभएर हैजा, डेङ्गुजस्ता महामारी रोकथाममा राम्रो भूमिका निर्वाह गरेको बताइन् । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले अस्पतालले प्रदान गर्ने सेवा उदाहरणीय रहेको भन्दै सरुवा रोगलाई निमट्यान्न पार्नुपर्ने बताए । अस्पतालका कार्यकारी निर्देशक डा मनिषा रावलले अस्ताललाई तीन सय शय्या विस्तार गर्न थालिएको जानकारी दिइन् । विसं १९९० मा कलेरा अस्पतालको रुपमा रहेको अस्पताललाई २०५३ सालमा सरुवा रोग अस्पतालको रुपमा विकास गरिएको थियो । उनका अनुसार अस्पतालले विगत डेढ वर्षदेखि अस्पतालले निःशुल्क कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ । अहिलेसम्म एक लाख १२ हजारलाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराइएको छ । उनले अस्पतालमा सबैभन्दा बढी कुकुरले टोकेका बिरामी आउने गरेको बताइन् । उनका अनुसार दैनिक तीन सयदेखि चार सय कुकुरले टोकेका बिरामी आउने गर्दछन् ।