content
stringlengths
20
64.1k
फास्ट ट्र्याकको स्थलगत अनुगमन गर्न रक्षामन्त्री उप्रेतीसहितको टोली बारा आउँदै बारा । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले बुधबार काठमाडौं–निजगढ द्रूतमार्गको स्थलगत अनुगमन गर्ने भएका छन् । बारा १ का प्रतिनिधि सभा सदस्य अच्युतप्रसाद मैनालीको विशेष अनुरोधमा रक्षामन्त्री उप्रेतीसहितको टोलीले बुधबार द्रूतमार्गको स्थलगत अनुगमन गर्ने तय गरेको हो । रक्षामन्त्री उप्रेतीसहितको टोलिमा नेपाली सेनाका प्रधानसेनापती प्रभुराम शर्मा, फास्ट ट्र्याक आयोजना टोली लगायत मन्त्रालयका विशिस्ट कर्मचारीले फास्ट ट्र्याकको स्थलगत अनुगमन गर्ने कार्यक्रम भएका छन् । टोलीले फास्ट ट्र्याकको स्थलगत अनुमगन गरेर कार्यप्रगतिबारे जानकारी लिने बताइएको छ । बारा १ का प्रतिनिधि सभा सदस्य अच्युतप्रसाद मैनालीले २०६६ सालमा शिलान्यास भएको द्रूतमार्ग १२ वर्षसम्म पनि सम्पन्न हुन नसकेको हुँदा निर्धारित समयमा तराईलाई राजधानी काठमाडौंसँग जोड्ने ७६ किलोमिटर लामो फास्ट ट्र्याक निर्माण छिटो भन्दा छिटो निर्माण सम्पन्न गराउने उदेश्यले स्थलगत अनुमगन गर्न वातावरण मिलाएको बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य अच्युत मैनालीका स्वकीय सचिव दामोदर मैनालीले बताए । सेनाका अधिकारीहरुले विक्रम संवत् २०८१ मंसिर सम्ममा निर्माण सम्पन्न गर्ने बताएको भएतापनि २०६६ सालमा शिलान्यास भएको द्रूतमार्ग १२ वर्षसम्म पनि सम्पन्न हुन सकेको छैन ।
बारामा अवैध रुपमा भित्र्याएको भारतीय मल छ्याप्छ्याप्ती इन्दिप कोइराला बारा । सरकारी अनुदानको रासायनिक मलको अभाव भएपछि बारामा चोरी निकासी भई आएको भारतीय युरिया मल बजारमा छ्याप्छ्याप्ती भएको छ । सरकारले प्रयाप्त मात्रामा मल उपलब्ध गराउन नसक्दा बाली लगाउने बेलामा भारतीय गुणस्तरहिन अवैध मल किन्न किसान बाध्य बनेका छन् । सीमामा खटिएका नेपाल प्रहरी तथा शसस्त्र प्रहरीलाई मोटो रकम बुझाउँदै भित्रिने भारतीय मल सदरमुकाम कलैयामा छ्याप्छ्याप्ती भएको हो । महँगो र गुणस्तरहिन भएपनि नेपाली मलको अभावमा भारतीय मल किन्नु परेको किसानहरु बताउँछन् । नेपाली युरिया मल ८००देखि ९०० सम्म पर्छ । तर पाइँदैन । स्थानीय सहकारी संस्थाले मल ल्याउन नपाएको धेरै दिन भएको छ । मकै बालीलाई मल अत्यावश्यक भइसेकाले बाध्यताले भारतीय मल किन्नु परेको बारा कलैया उपमहानगरपालिका १६ उत्तरझिट्कैंयाका किसान राजु पटेलले बताए । भारतबाट चोरबाटो हुँदै धामाधम मल आएकै छ । सिमामा प्रहरीलाई नमिलाई ल्याउन गाह्रो छ । प्रहरीसँगको मिलेमत्तोम मल तस्करहरुले दैनिक पचासौं मोटरसाइकलमा ५ बोरासम्म लोड गरेर मल आउने गरेको कलैयाका एकजना व्यापारीले बताए । यसरी भित्रिएका रासायनिक मल यूरिया १ हजार ३ सय देखी १ हजार ३५० रुपैयाँसम्म विक्री भइरहेको छ । खुद्रा व्यापारीले भारतबाट मल ल्याउने मत तस्करहरूसँग एक हजार २०० सम्म किन्ने गरेको उनले बताए । ‘सरकारले प्रयाप्त दिन सक्दैन । किसानको जीवन त चोरी पैठारीबाट आउने मलले नै चलाएको छ । सिजनका सरकारको भरपर्ने अवस्था छैन । सरकारी अनुदानको मल अभावमा मंहगो मुल्यमा भारतीय मल किन्न बाध्य छौं,’ अर्का किसान सीमा यादवले बताइन् ।
१७ परिवारको घरबास भएको जमिनमा अर्कैले दाबी गरेपछि विवाद बारा। २०२५ सालबाट बसोबास गर्दै आएका १७ परिवारको घरबास भएको जमिनमा अर्कैले दाबी गरेपछि विवाद बढेको छ। जितपुरसिमरा उपमहानगरपालिका- १८माथ्लो बडहर्वाका १७ परिवार विवादमा परेका हुन्। माथ्लो बडहर्वाका रामबहादुर कार्कीसहित का १७ परिवार २०२५ सालबाटै ऐलानी जमिन खनजोत गर्दै घरबास गर्दैआएका थिए । हाल आएर सोही पालिका वडा नं. १६ का स्वर्गीय सीताराम बराल र डम्बरकुमारी बरालका छोरा राजकुमार बरालले आफ्नो दाबबी गर्दै आएका हुन्। उनले गाविस भोडहाकाे कित्ता नं. १८७, ८०, ७९ र १३५ को क्षेत्रफल क्रमश ०-१-१०, ०-९-०-५, ०-६–० र ०-१-१५ जमिन मेरो भन्दै दाबी गरेका हुन्। जबकी यी जमिनमा रामबहादुर कार्कीसहित पूर्णबहादुर खड्का, गीता भण्डारी, चेतकुमारी राना, विनीता गौतम, अमृता जर्गा लगायत १७ परिवार बसोबास गर्दै आएका छन्। बरालले आफ्नो बाबु सीताराम बरालको नामबाट आमा डम्बरकुमारीका नाममा लगिएको दाबी गरे पनि उक्त जमिन नेपाल सरकारको ऐलानी भएको स्थानीयले बताए । ‘आफूहरू बस्दै आएको जमिनको कीर्ते कागजात बनाएर हामीलाई दुःख दिने काम भएको छ। तत्काल बदर हुनुपर्छ। भूमिसुधार तथा मालपोत कार्यालयमा निवेदन दिएका स्थानीय राम बहादुर कार्कीले भने, ‘मालपोत कार्यालयका कर्मचारीसमेतको मिलेमतोमा कीर्ते मोठ खडा भएको देखियो।’ पीडित पक्षबाट मालपोतमा जमिनको कीर्ते श्रेस्ता बदरका लागि निवेदन दिएकोमा माघ ४ गतेका लागि दुईपक्षलाई बोलाइएको थियो। उक्त दिन दुबै पक्ष सहभागी भए पनि मालपोतले पुन: १३ माघका लागि तारिख दिएको कार्कीले बताए। जिल्ला प्रशासन कार्यालय बाराले पीडितका पक्षबाट श्रेस्ता बदरका लागि जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१८ले गरेको सिफारिस संलग्न राखी मालपोत बारालाई यस विषयमा छानबिन गरी रायसहितको प्रतिवेदन बुझाउन भनेको थियो। जिल्ला प्रशासन कार्यालय बाराका प्रशासकीय अधिकृत अनुश आर्चायले गत मंसिर २८ गते लेखेकाे पत्रको जवाफ प्रशासन कार्यालय बाराले अझै पाएको पाएको छैन। घरबास भएको जमिन नै अर्काले मेरो भन्दै पूर्जा लिएर आएपछि यहाँका स्थानीय तनावमा देखिएका छन्। उनीहरूले मालपोतमा गई समस्या दर्ज गरेका थिए। मालपोत कार्यालय बारा कलैयाले जग्गाको वास्तविकता बुझ्ने प्रक्रिया अपनाउँदै जग्गा दाबीकर्ता बराललाई १५ दिनभित्र सम्पूर्ण प्रमाण लिई आउनु भनि पत्र पठाएको थियो। जुन पत्रको म्याद माघ ४ मा ग्रुजेको छ। पत्रको जवाफमा जमिन दाबीकर्ता बरालले जमिन आफ्नै भएको दावी गर्दै बदरको निवेदनको तुक नभएको उल्टै पीडित भनिएकाहरूले आफ्नो जमिन खनजोत गर्दै आएको बताएका छन्। उनले २०३५ साल २ महिना १२ गतेको निर्णयबाट नेपाल सरकारको नामबाट खारेज भई आमा डम्बर कुमारीको नाममा आएको उल्लेख गरेका छन्। यता पीडित पक्षले भने ऐलानी जमिनलाई कीर्ते गरी आफ्नो दाबी गर्ने काम भएको बताएका छन्। यति मात्रै नभई १३५ नं. कित्ता स्थानीय गोपाल सुहालको नम्बरी जमिन १ बिघा १५ कठ्ठा रहेकोलाई कीर्तेगरी १ कठ्ठा १५ धुरको दोहोरो पूर्जा बनाएर दाबी भइरहेको स्थानीय पूर्णबहादुर खड्काले बताए। ‘एउटै क्षेत्रमा कसरी एउटै कित्ताका दुई फरक पूर्जा हुन्छ। यो हुनै नसक्ने विषय आयो। मालपोतको लापरबाहीका कारण नेपाल सरकारको जमिन भू-माफियाले आफ्नो बनाउन खोजे,’ उनले भने, ‘तर, कदापि हुन दिइनेछैन। २०३५ सालभन्दा अगाडिबाट हामीले घरबाससहित भोग गर्दै आएका हौं। यतिका दिनसम्म कसैले केही भनेको थिएन । अहिले आएर मेरो भन्नेको कुनै आधार छैन। उनका प्रमाण कीर्ते र नक्कली हुन्। हामीलाई दुःख दिने मात्रै काम भयो।’
मधेस प्रदेशमा एक लाख ४६ सवारी साधन कारबाहीमा वीरगञ्ज। मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०७९/८० को छ महिनामा एक लाख ४६ हजारभन्दा बढी सवारी साधान कारबाहीमा परेका छन्। सवारी दुर्घटना न्यूनीकरण गर्न प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले विभिन्न कसुरमा एक लाख ४६ हजार एक सय ८० वटा सवारी साधानमाथि कारबाही गरेको हो। सवारी साधानमाथिको कारबाहीबाट रू १० करोड ७७ लाख १५ हजार पाँच सय राजस्व सङ्कलन भएको मधेस प्रदेश ट्राफिक कार्यालय पथलैया बाराले जानकारी दिएको छ। ट्राफिक प्रहरीले हाल राजमार्गमा जडान गरिएको सिसिटिभी र राडर स्पिड गनबाट सवारी साधनको गति निगरानी गरिरहेको छ। कार्यालय पथलैया बाराका अनुसार तीव्र गतिमा चलाइएको कार/जिप दुई हजार ६ सय ६४ वटा सवारी साधान कारबाहीमा परेका छन्। साथै यात्रुबाहक बस, मिनिबस र सुमो आठ सय २१ वटा, मोटरसाइकल तीन सय ४९ वटा र मालबाहक ट्रिपर, ट्रक र ट्र्याक्टर तीन सय २५ वटा गरी चार हजार एक सय ४९ वटा सवारी साधनमाथि कारबाहीमा परेको कार्यालय प्रमुख प्रहरी उपरीक्षक सन्तोषकुमार भट्टराईले जानकारी दिए। क्षमताभन्दा बढी यात्रु बोक्ने, तीव्र गतिमा सवारी चलाउने, बिना हेलमेट र तीन जना सवार भइ मोटरसाइकल चलाउने प्रवृति बढेकाकाले राजमार्ग तथा अन्य सहायकमार्गमा सवारी चेकजाँच कडाइ गरिएको उनको भनाइ छ। यस अवधिमा प्रदेशका जिल्लामा भएका दुई हजार आठ सय ७६ सवारी दुर्घटनामा तीन सय नौ जनाको मृत्यु भएको छ। सवारी दुर्घटनामा सबैभन्दा बढी बारामा ६५ जना र सबैभन्दा कम पर्सामा २२ जनाको मृत्यु भएको प्रदेश ट्राफिक कार्यालय पथलैया बाराले जनाएको छ।
एम्बुलेन्सलाई तिर्ने पैसा नभएपछि गर्भवतीको बाटोमै मृत्यु बाजुरा। जिल्लाको बडीमालिका नगरपालिका-१ पिनालेककी २६ वर्षीया गर्भवती जानकी विकको मृत्यु भएको छ। जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीका अनुसार दुई दिनअघि उपचारका लागि भारत लैजान सिफारिस भए पनि ढिलाइ भएकाले मृत्यु भएको बताए। “चैतमा सुत्केरी हुँदैहुनुहुन्थ्यो, हामीले उपचारका लागि भारत लैजान सिफारिस गरेका थियौँ”, उनले भने, “ढिलो गरी लैजाँदा गर्दा बाटोमा गाह्रो भएपछि अछामको बयालपाटा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जानकारी पाएका छौँ।” एम्बुलेन्सलाई तिर्ने पैसा नभएपछि विकलाई महेन्द्रनगरतर्फ बसमार्फत् लैजाने क्रममा चौखुट्टेमा समस्या आएपछि उपचारका लागि बयालपाटातर्फ लगिएको थियो। बयलपाटा अस्पतालमा कार्यरत अहेव भवानी ढुङ्गानाले विकको अस्पताल आउनु अघि बाटोमै मृत्यु भइसकेको र बच्चा पनि पेटमै मृत्यु भइसकेको जानकारी दिए। विक मुटुरोगी पनि थिइन्।
मुगुसहित कर्णालीमा हिमपात, जनजीवन कष्टकर मुगु। मुगुलगायत कर्णालीका जिल्लाहरुमा वर्षासँगै हिमपात भएको छ। अन्य जिल्लाभन्दा मुगुमा माघ महिनाको पहिलो सातामै साेमबार रातिदेखि लगातार हिमपात भएसँगै यहाँकाे जनजीवन प्रभावित भएको छ। लगातारको हिमपातले मुगुको पूर्वी करान भेगका वडा, खत्याड गाउँपालिकाको खमाले, सेरी, कवा, चाकपाडे, लमेरा, कोटिल्लालगायत सोरुगाउँपालिकाको, सोरुकोट, धैना, कालै, रुम र छायाँनाथ रारा नगरपालिकाको रारा, ताल्चा विमानस्थल, वाम शोभा, लिउडी मुन्दु, कोटिल्ला झ्यारी, रोवा लगायत क्षेत्रकाे जनजीवन कष्टकर बनेकाे हाे। हिमपातको कारण नेपालगञ्ज, सुर्खेतबाट मुगु आउने सवारी साधनहरू रोकिएका छन्। रारा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरू पनि निकै समस्यामा परेका छन्। अघिल्लो हिउँदमा पुस पहिलो साताबाट हिमपात भए पनि यो वर्ष एक महिनापछि हिमपात सुरु भएको छ। हिमपातसँगैको चिसोले बालबालिका, वृद्धवृद्धा र काममा निस्कने व्यक्ति बढी प्रभावित भएका छन्। चिसोले गर्दा भेडा बाख्रासहित अन्य पशुचौपायालाई समेत समस्या भएको सोरु गाउँपालिकाका पदमबहादुर शाहीले बताए। बाक्लो हिमपातले शैक्षिक संस्था, सरकारी कार्यालयको कामकाज प्रभावित भएका छन् ।लगायतको हिमपातले ताल्चा विमानस्थल पनि बन्द भएको छ। यो वर्ष एक महिनाअगावै हिमपात भएका कारण हिउँदेबालीको उत्पादमा राम्रो हुनेमा कृषकहरू आशावादी छन्। विशेषगरी अहिले खेतबारीमा लगाएको जौं, गहुँ बाली उम्रिने समय भएको र यही बेला हिमपात र पानी पर्दा खेतीपातीका लागि राम्रो मानिन्छ।
ललितपुरबाट मौरी चराउन बागलुङ ! गलकोट। मौरीपालन व्यवसायका लागि उपयुक्त बनेको पहाडी जिल्ला पछिल्लो समय मौरीपालनको ‘हब’ बन्दै गइरहेको छ। पहाडी क्षेत्रमा चरेका मौरीको मह अग्र्यानिक र स्वस्थकर मानिने भएकाले पछिल्लो समय जिल्लामा मौरीपालन व्यवसाय फस्टाभएको छ। यहाँका थुप्रै स्थानमा मौरीपालन व्यवसाय फस्टाउँदो क्रममा रहेको सन्दर्भमा बाहिरी जिल्लाबाट समेत मौरीको चरन क्षेत्रका रूपमा समेत लिन थालिएको छ। विसं २०७२ बाट मौरीपालन थाल्नुभएको म्याग्दीको बेनी नगरपालिका-४ स्थित सुर्केमेलामा डिलबहादुर खत्रीले मौरीको चरन क्षेत्रका रूपमा बागलुङ-४ रमेटारलाई छानेका छन्। उनले आफ्ना मौरीका घारहरू केही महिना म्याग्दी र केही महिना बागलुङ राख्दै आएका छन्। रमेटारस्थित खेतको डिलमा उहाँका एक सय १५ मौरीका घार छन्। खेतमा तोरीखेती हुने भएकाले मौरी चरनका लागि व्यवसायी खत्रीले खेतको डिलमा मौरीसहितका घार राखिएको बताए। बागलुङ-४ उपल्लाचौर, कुडुँले तथा रमेटारमा मौरीको चरन क्षेत्रका रूपमा लिन थालिएको सन्दर्भमा बागलुङमा ललितपुरबाट समेत यसपटक मौरी चराउनका लागि ल्याइएको छ। ललितपुर महानगरपालिका-२४ धापाखेलस्थित माउन्टेन मौरी कन्सनले हालैमात्र मौरीको चरन क्षेत्रका लागि तोरीको फाँट बागलुङ-४ कुडुँलेलाई लिएको छ। विसं २०५१ बाट मौरीपालन व्यवसायमा लागेका माउन्टेन मौरी कन्सनका प्रमुख धर्मराज श्रेष्ठले वार्षिक एक हजारभन्दा बढी मौरीसहितका घार बिक्री गरेको बताए। कन्सनले कुडुँले तोरीको फाँटको चर्चा सामाजिक सञ्जालमा देखेपछि आफूले व्यावसायिक प्रायोजनका लागि ७० मौरीका घार लिएर कुडुँलेको तोरीको फाँटमा राखिएको जनाएको छ। झण्डै एक हजार दुई सय मौरीका घार रहेको कन्सनले पहाडी जिल्लामा चरनका लागि यो याममा मौरीका घार पठाउने गरेको छ। पहाडी जिल्ला मौरीको चरन क्षेत्रका लागि उपयुक्त भएको र अहिले तोरी फुल्ने सिजन भएका कारण पहाडी जिल्लामा मौरीका घार पुर्‍याउने योजनाअनुसार बागलुङमा पहिलोपटक मौरी चराउनका लागि ललितपुरबाट ल्याएको प्रमुख श्रेष्ठले जानकारी दिए। “माउन्टेन मौरी कन्सनमार्फत उत्पादन भएको मह जापान निर्यात हुन्छ, हामीले ललितपुरसहित विभिन्न जिल्लामा मौरीका घार चरनका लागि पुर्‍याइन्छ”, उनले भने, “चरन क्षेत्रका लागि पहाडी जिल्लामा मौरीसहितका घार पुर्‍याउँदा व्यावसायिक प्रवद्र्धन हुने, घारसहितका मौरी बिक्री गर्ने र मौरीपालन व्यवसाय फस्टाउने लक्ष्यका साथ पहिलोपटक बागलुङको कुडुँले फाँटमा ल्याएको छु, झण्डै सय घारमध्ये बिक्री भएर अहिले कुडुँले फाँटमा ७० मौरीसहितका घार छन्, यहाँका कृषकलाई मौरीपालन व्यवसाय सिकाउनका लागि समेत सहयोग पुर्‍याइने छ।” व्यावसायिक मौरीपालनका लागि मौरी चरनका लागि एक स्थानबाट अर्को स्थानमा लाने गरेको पाइन्छ । यतिखेर ललितपुर, म्याग्दी र जैमिनीका मौरीपालक किसना मौरी चरनका लागि बागलुङ बजार आसपासको क्षेत्रमा फैलिएको तोरी खेतमा आएका छन्। मौरीले बच्चा उत्पादन गर्न र मह उत्पादनका लागि उपयुक्त चरन क्षेत्रको अवश्यक रहेकाले एक स्थानबाट अर्को स्थानमा मौरीका घार स्थानान्तरण गरिँदै आएको पाइन्छ। मौरीलाई आहारा पाइने र शान्त वातावरण भएका ठाँउमा लाने गरेको मौरीपालन किसानले बताउँदै आएका छन् । मौरीलाई यो सिजनमा डेढ महिना बागलुङसहितका पहाडी जिल्लामा पुर्‍याएको कन्सनका प्रमुख श्रेष्ठले जानकारी दिए। उनले बागलुङ जिल्ला पहिलोपटक मौरी लिएर आएको भए पनि अहिले हाम्रो मौरीका घार सिन्धुपाल्चोक, दाङ, चितवन, मकवानपुर, रुपन्देही, सर्लाही र काडमाडौँका विभिन्न स्थानमा पुर्‍याएको जानकारी दिए । “वर्षमा दुईपटक मौरी चरनका लागि उपयुक्त फूल फुल्ने र शान्त वातावरणमा पुर्‍याइन्छ, जहाँ मौरीका छाउरा उत्पादन र मह उत्पादनले तीव्रता पाउन सहयोग मिल्छ”, उनले भने, “मैले प्रत्येक ठाउँमा मह उत्पादनका विषयमा त्यहाँका किसानलाई समेत सिकाउँछु, मौरीपालनका विषयमा जागरुक बनाउँछु, नेपालको पहाडी जिल्लामा उत्पादन भएको मह विदेश निर्यात गर्न सकिन्छ ।” यसरी मौरी चराउँदा मौरी घार राख्न जग्गाधनीसँग न्यूनतम भाडादरमा कतै नगद र कतै मह दिने गरी समझदारी गरिने श्रेष्ठको भनाइ छ। उपयुक्त हावापानी र वातावरणमा गरिएको मौरीपालनबाट एक घारबाट वर्षमा छदेखि सातपटक मह निकाल्न मिल्ने र वार्षिक ३० देखि ३५ केजीसम्म मह निकाल्न सकिन्छ। मौरीसहितका घार ढुवानी आफैंमा जोखिमपूर्ण भए पनि उत्पादनका हिसाबले निकै राम्रो मानिन्छ। माउन्टेन मौरी कन्सनले मौरीसहितका घार बिक्रीबाट महभन्दा बढी फाइदा हुने बताउँदै प्रतिघारलाई रु १२ हजारमा बिक्री गरिएको जानकारी दिए। ललितपुरबाट पहिलोपटक मौरी चरनका लागि बागलुङ ल्याए पनि म्याग्दी सुर्केमेलाका डिलबहादुर खत्रीले विसं २०७२ देखि मौरीको चरन क्षेत्रका लागि यो स्थानलाई रोज्दै आएका छन्। खत्रीले गत वर्षमात्रै एक सय १० मौरीसहितको घार बिक्री गरेर रु १० लाख ४५ हजार आम्दानी गरेको र एक क्विन्टल मह बिक्रीबाट रु एक लाख १३ हजार आम्दानी गरेको बताए। खत्रीले कृषि ज्ञान केन्द्र बागलुङ र म्याग्दीले किसानलाई दिने मौरीसहितको घार अनुदानका लागि दिन आफ्नै केसी मौरीपालन स्रोत केन्द्रबाट मौरीका घार खरिद गरेर लैजाने गरेको बताए। यस्तै जैमिनी-७ जैदी धुल्लुका मोहराज शर्माले आफ्नो घरमा सयभन्दा बढी मौरीका घार पालेका छन् भने ३० घार बागलुङ बजारको क्याम्पसरोडमा चरनका लागि राख्दै आएको जानकारी दिए।
ऐलानी जग्गामा बनेका घरबाट कर उठाउँदै तुलसीपुर उपमहानगरपालिका तुलसीपुर। तुलसीपुर उपमहानगरपालिकाले ऐलानी जग्गामा बनेका घरबाट कर सङ्कलन गर्ने भएको छ। घर र जग्गा प्रयोग गरेवापत नगर सेवा उपभोग शुल्क लगाउन लागिएको हो। उपमहानगरपालिकाको आर्थिक विकास समितिले तयार पारेको नगर सेवा उपभोग शुल्क लगाउनेसम्बन्धी मूल्याङ्कन दर स्वीकृत गरी आगामी नगरसभाबाट स्वीकृत गरेर शुल्क लैजाने तयारी गरिएको हो। नगरसभाले अनुमोदन गरेपछि सबै वडामा कार्यान्वयन गर्ने उपमहानगरपालिकाको तयारी रहेको छ। उपमहानगरपालिकाको नगरसभा माघ २० गते बस्ने भएको छ। कार्यपालिकाको छैटौँ बैठकले १२औँ नगरसभा बैठक माघ २० गते बस्ने निर्णय गरेको कार्यपालिका सदस्य खुसीराम चौधरीले बताए। घर हटाइँदै तुलसीपुर उपमहानगरपालिकाको कार्यालयको उत्तरपूर्वतर्फ रहेका तीनवटा पक्की घर सम्बन्धित घरधनी आफँैले हटाउने भएका छन्। केही दिनमै ती घर हटाउने गरी घरधनीले तयारी गरेको उपमहानगरपालिकाका इञ्जीनियर पवन योगीले बताए। त्यहाँ तुलसीपुरका व्यवसायी टेकराम खड्का, तुलसीपुर–१८ मानपुर निवासी अमर नेपाली र उनका एक जना आफन्तीको गरी तीनवटा पक्की छन्। उनीहरुले नै घर आफँै भत्काउने गरी तयारी गरेको इञ्जीनियर योगीले बताए। “टेकराम खड्काको घर आफँै भत्काउने भनेर सामान नै खाली गरिसकेका छन्”, उनले भने, “अरु दुईवटा घर पनि आफँै भत्काउने गरी अन्त घर हाल्न लागेको कुरा गर्नुभएको छ, छिट्टै उहाँहरूले आफँै जग्गा खाली गर्ने भन्ने कुरा सहमति भएको छ।” उपमहानगरपालिका कार्यालयको कित्ता नं ५ ९घ० ८१२ त्यसरी अतिक्रमणमा परेको हो। उपमहानगरपालिकाले आफ्नो जग्गामा बनेका संरचना हटाउने गरी प्रक्रिया अघि सारेको छ। उपमहानगरपालिकाका पाँच कित्ता छन्। तीमध्ये तुलसीपुर बसपार्कको उत्तरतर्फ आलुमण्डी आसपासको कित्ता नं ५ (ख) ५४४ मा एक बिघा १० कठ्ठा १४ धुर जग्गा छ। त्यस्तै कित्ता नं ५ (ख) कै ५४५ मा ३४ कठ्ठा, ५ (ख) ५४६ मा ११ कठ्ठा र ५ (ख) ४९९३ मा ५३ हजार पाँच सय ६५ वर्गमिटर जग्गा रहेको छ। तीमध्ये अधिकांश जग्गा अतिक्रमणमा परेको छ। त्यसको लगत निकाल्ने काम भइरहेको छ।
सरस्वतीको मूर्तिमा सीप निखार्दै कुम्हाल महोत्तरी। मधेस प्रदेशको महोत्तरीसहितका मिथिला क्षेत्रमा अहिले वसन्त उत्सवको उल्लास छ। श्रीपञ्चमी अर्थात् वसन्तपञ्चमी पर्वका लागि समाजमा सबै आ–आफ्नो क्षेत्रका काम हेर्दैछन्। यस पर्वमा मिथिलाका कुम्हाल जाति समुदाय अहिले सरस्वतीको मूर्तिमा आफ्नो सीप खन्याउन तल्लीन छन्। अझभन्दा मूर्तिको निखारमा कुम्हाल जुटेका छन्। सरस्वती पूजनोत्सवको दिन नजिकिँदै गर्दा कुम्हाललाई अहिले माटो मुछेर बनाइने देवी सरस्वतीका मूर्ति तयार गर्ने चटारो छ। वसन्तपञ्चमी र श्रीपञ्चमीसमेत भनिने माघ शुक्ल पञ्चमीका दिन उल्लासका साथ सरस्वती पूजनोत्सव मनाइने मैथिल परम्परा छ। सरस्वती पूजनोत्सवका लागि माटो मुछेर बनाइएका मूर्तिको माग हुने भएपछि अहिले कुम्हाललाई मूर्तिमा अन्तिम चरणको रङ भर्ने कामले छोपेको छ। कतिपय अझै मूर्तिमा बिभिन्न अङ्गको बनोटबारे अन्तिम छाँटकाँट पनि गर्दैछन्। मुख्यतः अहिले अब मूर्तिमा रङ भर्ने काम देखिँदो छ। “अब दिन कति बाँकी रहे र? आउने बिहीबार त पर्व नै हो, मूर्ति त एक दिन पहिले नै तयार भइसक्नुपर्छ”, मूर्तिमा कुचीले विभिन्न रङ भर्न व्यस्त महोत्तरी भङ्गाहा नगरपालिका–५ भूचक्रपुरका सीताराम पण्डित कुम्हाल भन्छन्, “दुई–चार मूर्तिमात्रै बिके पनि अलिकति रकमको जोहो हुन्थ्यो, दिन घर्केपछि फेरि मूर्ति खोज्न त कोही आउँदैनन्, त्यसैले मूर्तिको काम चाँडै सक्नुपरेको छ।” यसपालि यही माघ १२ गते अर्थात् आउने बिहीबार श्रीपञ्चमी पर्व परेको छ। मूर्तिमा रङ भर्न घरका परिवारजन छोराछोरी पनि रमाइलोका लागि सरिक हुने गरेका सीताराम बताउँछन्। माटो मुछेर भाँडा, मूर्ति बनाउने पेसाका कुम्हाल अब पर्वविशेषमै आफ्नो पुख्र्यौली व्यवसाय सीमित भएको बताउँछन्। अहिले सरस्वती पूजनोत्सव नजिकिँदै गर्दा मूर्ति बनाउन लागिपरिएको सीतारामको भनाइ छ। मिथिलामा श्रीपञ्चमी पर्वमा विद्यालयमात्र नभई घरमै पनि सरस्वती पूजा गर्ने परम्पराले यो बेला सरस्वतीका मूर्तिको माग बढ्ने गरेको छ। “अब पहिलेजस्तो घरायसी प्रयोजनमा माटाका भाँडा प्रयोग हुन छाड्यो, त्यसैले हाम्रो सीप चाडवाड विशेषमा सीमित भएको छ”, सीतारामले भने। सरस्वती पूजनोत्सवमा एक महिना पहिलेदेखि नै कुम्हालको व्यस्तता बढ्छ। मूर्तिका लागि माटो छान्ने, ओसार्ने, मुछ्ने, पराल र खरलाई मूर्ति आकार बनाएर माटो भर्ने र अन्त्यमा सरस्वतीको मूर्ति आकर्षक बनाउन विभिन्न रङ भरेर तयार गर्ने यसक्रमका काम हुन्छन्। सामान्यतः पूजनोत्सवमा सरस्वतीसँगै गणेशजीको मूर्तिको पनि माग हुन्छ। हिन्दू परम्परामा सबै शुभकार्यमा गणेशजीको अग्रपूजाको परम्पराले सरस्वती पूजनोत्सवमा पनि गणेशजीका मूर्तिको माग हुने गरेको महोत्तरीकै लोहारपट्टी नगरपालिका–४ पिपराढीका महेश्वर पण्डित बताउँछन्। बितेका दुई–तीन वर्ष पर्वकै मुखमा कोरोना सङ्क्रमण सन्त्रासले पूजनोत्सव समारोह राम्ररी आयोजन हुन नसक्दा कारोबार नभएको कुम्हाल सम्झन्छन्। यसपालि भने सरस्वती पूजनोत्सवका लागि ठाउँ–ठाउँबाट मूर्तिको माग भएको हुँदा अलि धमाधम परेको कुम्हालहरूको भनाइ छ। मूर्ति र माटाका भाँडा बनाउने काम पुर्ख्यौली पेसासँग जोडिएको हुँदा त्यो परिचय थाम्न पनि अझै माटोसँग खेल्दै गरेको मनराशिशवा नगरपालिकाको सहसरामका ६० वर्षीय रामविलास पण्डित बताउँछन्। “पहिले पो घरायसी प्रयोजनमा माटाका गाग्री, तौला (सामान राख्ने र खाना पकाउनसमेत प्रयोग गरिने भाँडा), ढकन, अङ्खरा र छ्याँची (दही जमाउने भाँडा) प्रयोग हुन्थे र पो सधैँ यी सामानको बजार जम्थ्यो”, रामविलास भन्छन्, “अब दैनिक प्रयोजनमा माटाका भाँडाको ठाउँ प्लाष्टिकका भाँडाले लिएपछि हाम्रो सीप पनि चाडपर्वमा खुम्चेको छ।” दुई दशक पहिलेसम्म सधैँ माटाका भाँडा बनाउन व्यस्त रहने कुम्हाल अब चाडपर्व विशेषका भाँडा र मूर्ति बनाएर पुर्ख्यौली पेसाको पहिचानमात्र कायम राखिएको बताउँछन्। पछिल्ला केही दशकयता घरायसी प्रयोजनमा डेक्ची, बाटा, बाल्टिन, गिलास, अङ्खराजस्ता भाँडामात्र नभएर बाँसको चोयाबाट बन्ने डाली, छिटी, नाङ्लो र चाल्नोसहितका सामान पनि प्लाष्टिककै प्रयोग हुन थालेका छन्। माटाका भाँडा सानो असावधानीले छिसिक्क कतै ठोक्किनासाथ फुट्ने हुँदा अब सर्वसाधारण उपभोक्ताको रोजाइमा प्लाष्टिकका भाँडा पर्न थालेका कुम्हाल स्वयं स्वीकार गर्छन्। दशैँमा दुर्गा, तिहारमा लक्ष्मी, श्रीपञ्चमीमा सरस्वती, भदौ शुक्ल चौथीमा गणेश, भदौ कृष्ण अष्टमीमा श्रीकृष्ण र असोज सङ्क्रान्तिमा विश्वकर्माबाबाका मूर्ति माग हुन्छन्। यसबाहेक तिहार, छठ र चौरचनसहितका पर्वमा बत्ती बाल्ने दियो, गाग्री, तौला, दही जमाउने छ्याँची र केही सानातिना भाँडाका माग बढ्दा पर्वविशेषको व्यस्तता हुने र अन्य समय जीवन गुजाराका लागि अरु काममा लगाउने गरिएको कुम्हालहरूको भनाइ छ। आफ्ना पछिल्ला पुस्ताले त जीवन गुजारा नचल्ने भएपछि पुख्र्यौली यो पेसा छाड्दै गएका लोहारपट्टी–४ पिपराढीकै राजकिशोर पण्डित बताउँछन्। “हेर्नोस्, हाम्रो बस्तीमा ४० घरजति कुम्हाल हौँला, अब अहिले हेर्दा ३० वर्षमुनिका कोही माटाका मूर्ति र भाँडा बनाउने काममा छैनन्”, ६५ वर्षीय राजकिशोर भन्छन्, “जीवन गुजारा नचल्ने भएपछि नयाँ पुस्ता अन्य व्यवसायमा लागेका छन्, हाम्रो शेषपछि यो पुर्ख्यौली काम पनि कसैले थेग्लान् भन्ने लाग्दैन।” जिल्लामा अल्पसङ्ख्यक नै देखिने कुम्हाल जातिका पाका व्यक्ति अब एक–दुई पुस्तापछि नै चाडपर्वमा चाहिने माटाका भाँडा पनि बाहिरबाट ल्याउनुपर्ने अवस्था आउने बताउँछन्। पछिल्लो पुस्तालाई पुर्ख्यौली पेसाले जीवन धान्छ भन्ने नलागेपछि अब यो पेसा हराउँदै गएको पाका कुम्हाल आफैँ बताउँछन्। जिल्लामा अल्पसङ्ख्यक रहेको यो समुदायको जनसङ्ख्या अझै पाँच हजारमुनि नै छ।
आत्महत्या प्रोत्साहन गर्ने ‘जेल रेष्टुरेण्ट’मा प्रशासनको छापा रुपन्देही। भैरहवाको देवकोटा चोकमा रहेको जेल रेष्टुरेण्टमा जिल्ला प्रशासन कार्यालयले छापा मारेको छ। त्यहाँ रहेको हत्कडी, बन्दुक जस्तो देखिने एयरगन र आत्महत्या गर्न प्रोत्साहन गर्ने फासी लगाउन प्रयोग गरिने पासो प्रशासनले जफत गरेको र सो रेष्टुरेण्ट बन्द गराएको छ। देवकोटा चोकमा रहेको जेल रेष्टुरेण्टमा आउने ग्राहकलाई लक्षित गरी रेष्टुरेण्टको कोठा जेलको आकारमा बनाएको, हत्कडी लगाउने र आत्महत्या गर्न प्रोत्साहन गर्ने खालको क्रियाकलाप गरेको पाइएकाले रेष्टुरेण्ट बन्द गराएको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले बताए। उनले स्थानीय मिडियाबाट सो रेष्टुरेण्टबारे जानकारी भएको र अनुगमन गर्दा कैफियत देखिएको कारण बन्द गराइएको बताए। फरक प्रकृतिको देखिने भएको कारण पछिल्लो समय सो रेष्टुरेण्ट चर्चित भएको थियो। सहायक प्रजिअ अर्यालले रेष्टुरेण्ट बन्द गर्न लगाइ आज जिल्ला प्रशासन कार्यालयमा सम्पर्क राख्न आदेश दिएको बताए। उनले यसबारे आवश्यक अनुसन्धान गरी प्रचलित कानुनअनुसार कारबाही गर्ने जानकारी दिए।
भैरहवाको ‘जेल रेष्टुरेण्ट’मा प्रशासनको छापा भैरहवा । भैरहवाको देवकोटा चोकमा रहेको जेल रेष्टुरेण्टमा सोमबार जिल्ला प्रशासन कार्यालयले छापा मारेको छ । त्यहाँ रहेको हत्कडी, बन्दुक जस्तो देखिने एयरगन र आत्महत्या गर्न प्रोत्साहन गर्ने फासी लगाउन प्रयोग गरिने पासो प्रशासनले जफत गरेको र सो रेष्टुरेण्ट बन्द गराएको छ । देवकोटा चोकमा रहेको जेल रेष्टुरेण्टमा आउने ग्राहकलाई लक्षित गरी रेष्टुरेण्टको कोठा जेलको आकारमा बनाएको, हत्कडी लगाउने र आत्महत्या गर्न प्रोत्साहन गर्ने खालको क्रियाकलाप गरेको पाइएकाले रेष्टुरेण्ट बन्द गराएको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले बताए । उनले स्थानीय मिडियाबाट सो रेष्टुरेण्टबारे जानकारी भएको र अनुगमन गर्दा कैफियत देखिएको कारण बन्द गराइएको बताए । फरक प्रकृतिको देखिने भएको कारण पछिल्लो समय सो रेष्टुरेण्ट चर्चित भएको थियो । सहायक प्रजिअ अर्यालले रेष्टुरेण्ट बन्द गर्न लगाइ भोलि जिल्ला प्रशासन कार्यालयमा सम्पर्क राख्न आदेश दिएको बताए । उनले यसबारे आवश्यक अनुसन्धान गरी प्रचलित कानुनअनुसार कारबाही गर्ने जानकारी दिए ।
हिन्दू राष्ट्रको मुद्दा अब झन बलियो हुन्छ : उपप्रधानमन्त्री लिङ्देन काठमाडौं । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत अर्जुनधारा नगरपालिका–१ साधुटारस्थित शङ्कारचार्यपीठ वेद वेदाङ्ग संस्कृति पाठशालाको नवनिर्मित भवनको आज उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले उद्घाटन गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री लिङ्देनले रु ४५ लाखको लागतमा बनेको दुईतले, चार कोठे वेद वेदाङ्ग संस्कृत पाठशाला तथा सिद्धेश्वरी कामना गौशाला भवनको आज उद्घाटन गरेका हुन् । सो अवसरमा उनले आफू सरकारमा जाँदैमा हिन्दू राष्ट्रको मुद्दा कमजोर नहुने बताए । “सरकारमा गएर हिन्दूत्वको मुद्दा कमजोर हुँदैन झन बलियो हुन्छ”, उनले भने, “हिजो चर्को कुरा गरेर हिन्दूत्वको मुद्दा उठाउँदै आएँ, अब व्यवहारमा लागू गराउँदै लैजान्छु ।” उनले नेपालमा हिन्दू राष्ट्र हुनुपर्छ भनेर विनास्वार्थ उभिएको बताए । मन्त्री लिङ्देनले आफूले भ्रष्टाचार नगर्ने र मुलुकमा सुशासन कायम गर्ने कुरामा आफू प्रतिबद्ध भएको बताए । यसैगरी शङ्कराचार्य पीठ घोषणा भएको २५औँ वर्ष तथा रजत जयन्तीको अवसर पारेर आजै जगत्गुरु शङ्कराचार्यको मूर्तिसहित रजत स्तम्भको समेत अनावरण गरिएको व्यासाचार्य लक्ष्मीप्रसाद खतिवडाले बताए । शङ्कराचार्यपीठमा स्थापनाको ४७औँ वार्षिकोत्सव तथा श्री शङ्कराचार्यपीठ घोषणाको २५औँ वर्ष ‘रजत जयन्ती’ को अवसर पारेर गत माघ १ गतेदेखि श्रीमद् ब्रह्मावैवर्त महापुराण पाठ कथा प्रवचन गायत्री लक्ष्यहवनात्मक एकादशाह विराट गोपाल महायज्ञ भइरहेको छ । आध्यात्मिक जागरण मानव सचेतना, दैनिक रु एक दान एघार करोडको अक्षयकोष स्थापना महाअभियान विस्तार, गुरुकूलमा अध्ययनरत बटुकका लागि भोजनाच्छा दान व्यवस्था, गौशाला सुदृढ व्यवस्थापनका लागि पुनःनिर्माण, नियमित गौआहाराको व्यवस्था र संस्थाको सर्वाङ्गीण विकासको उद्देश्यले महायज्ञको आयोजना गरिएकोे बताइएको छ ।
म्याग्दीमा जिप दुर्घटना : एकको मृत्यु, सात घाइते म्याग्दी । म्याग्दीको थाईबाङबाट सदरमुकाम बेनी आउँदै गरेको ग१ज ६९३८ नम्बरको बोलेरो जिप सोमवार दिउँसो मंगला गाउँपालिका–२ काफलचौरमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा सवार अन्य सात जना घाइते भएका छन् । दुर्घटना हुँदा सवार मंगला गापा–१ की फमाया गर्बुजाको बेनी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बेनी अस्पतालले जनाएको छ । बेनी अस्पतालका सूचना अधिकारी रिन्छेन चालिसेका अनुसार दुर्घटनामा घाइते मंगला गापा–१ की ३४ वर्षीया सन्तु केसी, १० वर्षीया शिवानी केसी र ५ वर्षीय छोरा रिवान केसीको थप उपचारका लागि पोखरा रिफर गरिएको जानकारी दिए । अन्य घाइते मंगला गापा–१ का १५ वर्षीया बबिना परियार, ३८ वर्षीय टेकबहादुर गर्बुजा, ५० वर्षीया भीमकला नेपालीको बेनी अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको अवस्था सामान्य रहेको छ । वडा नम्बर २ की २३ वर्षीया विपना कार्कीको उपचारपछि डिस्चार्ज गरिएको बेनी अस्पतालले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ । घटनास्थलबाट जनप्रतिनिधि, स्थानीय र प्रहरीले उद्धार गरी घाइतेलाई बेनी अस्पताल ल्याएका थिए ।
पात्रो र भित्तेपात्रो प्रकाशन गर्दा अनिवार्य रुपमा सरकारको स्वीकृति लिनुपर्ने काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले पात्रो र भित्तेपात्रो प्रकाशन गर्दा अनिवार्य रुपमा स्वीकृति लिन आह्वान गरेको छ । समितिको गठन आदेश, २०७७ र यसअन्तर्गत बनेका नियमका आधारमा समितिले स्वीकृति लिन आग्रह गरेको हो । समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले आज विज्ञप्ति प्रकाशित गरी सबै प्रकारका पात्रो र भित्तेपात्रो प्रकाशन गर्नुपूर्व स्वीकृतिका लागि निवेदन दिन अनुरोध गरेका हुन् । राजधानी बाहिर रहेकाले स्वीकृतिका लागि अनलाइनबाट नै स्वीकृतिको निवेदन दिन सकिने समितिले जनाएको छ । यस्ता पात्रो र भित्तेपात्रोलाई अनलाइनबाट नै स्वीकृति दिने व्यवस्था समितिले मिलाएको छ । आगामी वर्षका लागि प्रकाशित गरिने पात्रो र भित्तेपात्रोको सिरानमा समितिबाट स्वीकृत प्राप्त र समितिको चलानी नं समेत उल्लेख गर्न पनि समितिले सरोकार भएका सबैको ध्यानाकर्षण गराएको छ । स्वीकृति नलिई प्रकाशन भएका पात्रो र भित्तेपात्रोलाई कानूनबमोजिम कारबाही गरिने भएको छ । यसका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय, संस्कृति महाशाखा प्रमुखको संयोजकत्वमा गृह मन्त्रालयका प्रतिनिधिसहित सरोकार भएका निकायका अधिकारी सदस्य रहेको अनुगमन समिति गठन गरिएको छ । यसका लागि मन्त्रालयले अनुगमन निर्देशिका नै तयार पारेको छ । समितिले आवश्यकता अनुसार उपसमिति गठन गरी प्रदेश, जिल्ला एवं ठूला शहरमा अनुगमन गरिने जनाइएको छ । अनुगमनका लागि प्रदेश र स्थानीय तहका प्रतिनिधिलाई पनि सहभागी गराइने समितिले जनाएको छ ।
कर्णाली प्रदेश अस्पतालबाटै मिर्गौला प्रत्यारोपण हुने हेमन्त केसी सुर्खेत । कर्णाली प्रदेश अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने भएको छ। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा रहेको अस्पतालले मिर्गौला प्रत्यारोपणको सेवा यही हप्ताबाट सुरू गर्ने भएको हो। यसअघि माघ महिनादेखि मिर्गौला प्रत्यारोपणको लागि सम्झौता भएको र त्यसै अनुसार सेवा विस्तार गरिएको अस्पतालका निर्देशक प्रा डा डम्बर खड्काले जानकारी दिए। निर्देशक डा खड्काले आर्थिक वर्षमा मिर्गौला प्रत्यारोपण सेवा, क्याथ ल्याब स्थापनाका साथै एमआरआई मेसिन जडान गर्ने जस्ता लिएका लक्ष्य पुरा गरेका बताए। यस्तै, डाक्टर खड्काले आगामी तीन वर्षभित्र भवनको तला थपका लागि बहुवर्षे ठेक्का प्रक्रिया सुरु भएको, ५०० शैयाको अस्पताल सञ्चालन, बाल अस्पतालको निर्माण र सञ्चालन गर्ने योजना  अस्पतालले लिएको बताए। अस्पतालले सोमबार पत्रकार भेटघाट गर्दै अस्पतालले आर्थिक वर्ष २०७८/०७९ र आर्थिक वर्ष २०७९/०८० मा गरेको प्रगति विवरण समेत सार्वजनिक गरेको थियो।  यस्तै, कर्णाली प्रदेश सरकारले प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल)का रुपमा स्तरोन्नतिका लागि छलफल समेत गरिसकेको छ। जसका लागि कर्णालीको सामाजिक विकास मन्त्रालयले अस्पताललाई प्रतिष्ठानका रुपमा विकास गर्न चालू आर्थिक वर्षमा बजेट विनियोजन समेत गरेको छ। हाल २९७ शैयाको अस्पतालमा दैनिक औसत ४०५ बिरामी भर्ना हुने तथ्यांकक छ। सुर्खेत जिल्लाको पुरानो सदरमुकाम गोठीकाँडामा विसं २०१९ सालमा स्वास्थ्य केन्द्रको रुपमा स्थापना भई विसं २०२४ सालमा सुर्खेत उपत्यकामा स्थानान्तरण हुँदै विसं २०२९ सालमा १५ शैया, २०४९ सालमा २५ शैयाको जिल्ला अस्पतालका रुपमा स्तरोन्नति भएको थियो। त्यस्तै, विसं २०६२ फागुण ७ गते ५० शैयाको मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल, २०७५ कात्तिक १३ गते प्रदेश अस्पतालका रुपमा रुपान्तरण भएको थियो।
मुख्यमन्त्री रावलको गुनासो : सुदूरको पीडा राष्ट्रियस्तरमा जोडिन सकेको छैन काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले सुदूरको पीडा राष्ट्रियस्तरमा जोडिन नसकेको गुनासो पोखेका छन् । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । मुख्यमन्त्री रालवले आफ्नो राजनीति पद र प्रतिष्ठा प्राप्तिको लागि नभएको बताउँदै अबको पाँच वर्षको कार्यकालमा अतीतलाई सम्मान गर्दै वर्तामानलाई क्रियाशील बनाउने प्रतिबद्धता व्यक्त गरे । ‘राजनीतिको सारथीका रुपमा मलाई आम जनताले निर्वाचित गराएका छन् । यो निर्वाचन मेरो व्यक्तिगत कुनै इच्छा र आकांक्षाका लागि पद र प्रतिष्ठाका लागि होइन । मूलतः यो ती ग्रामिण क्षेत्रका नागरिकको समस्या र पीडा र राष्ट्र र राष्ट्रियता र समावेशिताको मुद्दासँग जोडिएको छ । सुदूरपश्चिमलाई छाउपडी र देउकी प्रथा भएको ठाउँको रूपमा मात्रै चिनिएको भन्दै काठमाडौंमा कुमारी प्रथाको देवत्वकरण भएजसरी सुदूरका सामाजिक सांस्कृतिक परम्परालाई उजागर गर्नुपर्ने उनले औंल्याए । ‘सुदूरपश्चिमका लाखौंलाख झुपडीकोहरुको एकत्वलाई मैले हेर्न जरुरी छ । सामाजिक विकृति र विसंगतिको क्षेत्रमा भएका समस्यासँग जुध्न जरुरी छ । काठमाडौंमा कुमारी प्रथाको देवत्व भएझैं सुदूरका सामाजिक–सांस्कृतिक परम्परालाई उजागर गरेर भोलिका दिनमा प्रडक्टका रुपमा ल्याउने चुनौति पनि मसँग छ,’–उनले भने । सुदूरपश्चिमलाई सुदूर नभएर सुगम बनाउन हातेमालोका लागि उनले आग्रह गरे । ‘अब सुदूर होइन, सुगम कसरी बनाउन सकिन्छ ? यो क्षेत्रका पीडा उजागर गरेर समाधान कसरी गर्न सकिन्छ, अब यसमा हातेमालो गरौं । देउडा कल्चरको मान्छे हुँ म, सखिया नृत्य नाच्ने क्षेत्रको मान्छे हुँ म । होली नाच नाच्ने क्षेत्रको मान्छे हुँ । यो कल्चरल फ्युजनलाई लिएर हामी कसरी अघि बढ्न सक्छौं ? यहाँहरुसँग हातेमालो गर्न चाहान्छौं,’ उनले भने । साथै, आफूले सुदूरले खोजेको समृद्धि जनताका सामान्य कुरा शिक्षा, स्वास्थ्य, रोजगारीको सिर्जनालगायत भएको उनको भनाइ छ । सुदूरको समृद्धिका लागि पढाइ, कमाइ र दवाइको अभियान, सुदूरको पानी, खानी र जवानीलाई बाहिर ल्याउन जरुरी रहेको उनले बताए । किताबमा आधारित शैक्षिक पद्धतिलाई परिवर्तन गरी भोलिका दिनमा सुदूर र सिंगो देशलाई आवश्यक पर्ने जनशक्ति विकास गर्नसक्ने खालको शिक्षा पद्धतीको विकास गर्नु अहिलेको आवश्यकत्ता भएको उनको ठहर छ । सुदूरको शिक्षामा शेक्सपियर पढेपनि राष्ट्रका लागि बलिदानी दिने महत्वपूर्ण समूदाय र व्यक्तिलाई अहिलेको पाठ्यक्रमले समेट्न नसकेको उनको टिप्पणी छ । सुदुरपश्चिका विभिन्न प्राकृतिक एवं सांस्कृतिक सम्पदा संरक्षण, संवर्धन र प्रचार प्रसारको पर्खाइमा रहेको बताउँदै आगामी दिनमा प्रदेश सरकारले यसमा विशेष ध्यान दिने उनले बताए । सुदुरपश्चिम प्रदेश सरकारको विस्तार आफूले विश्वासको मत लिएपछि हुने र आफूले विश्वासको मत नपाउनुपर्ने कुनै कारण नै नभएको उनले बताए । सुदूरपश्चिमले अहिलेसम्म एउटा पनि राम्रो अस्पताल पाउन नसकेको उनको गुनासो छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको आजको भेटमा पनि सुदूरपश्चिममा अस्पताल निर्माण र विकासमा सहयोगका लागि आग्रह गरेको उनले बताए । सुदूरको स्वास्थ्य समस्यालाई केन्द्र सरकारको सहयोग लिएर समाधानमा लागिपर्ने उनले बताए । सुदूरको समृद्धिका लागि राष्ट्रिय गौरवका आयोजनाको आवश्यकत्ता औंल्याउँदै अहिले विकास गर्ने भन्दापनि विकास खाने प्रवृति बढेको बताए । आफू जनताको नोकरको रुपमा रहेर काम गरिरहेको उनले बताए । ‘म जनताको मालिक होइन जनताको नोकर हुँ । हिजोदेखि नै म जनताको नोकर नै भएर काम गरेको छु,’ उनले भने । सुदूरपश्चिमको नेतृत्वहरुसँग दूरदृष्टिको अभाव रहेको रहेको औंल्याउँदै उनले अब सुदूरको पीडा समग्र देशको पीडा बनोस् र समस्या समाधान होस् भन्ने आफ्नो चाहना भएको बताए । केन्द्रीय सरकारले प्राथमिकताको आधारमा सुदूरपश्चिमलाई विशेष महत्व दिनुपर्ने उनले बताएका छन् । अब व्यवस्थाको लागि लड्ने नभएर समृद्धिका लागि अगाडि बढ्नु जरुरी रहेको उनले बताए । एउटा व्यक्ति असफल बन्दै गर्दा व्यवस्था नै गलत भयो भन्नु गलत भएको उनले बताए । साथै, कैदी जीवन विताइरहेको रेशम चौधरीको रिहाइको लागि आफू सकारात्मक रहेको उनले बताएका छन् । ‘मानवीय संवेदना समुदायबीचको द्धन्द्धलाई अन्त्य गर्न छ, सामाजिक एकत्व खोज्नु जरुरी छ । सकारात्मक सोचले अगाडि बढ्न जरुरी छ । रेशमजी मेरो समाजको कम्पोनेन्ट हो,त्यत्ति बुझ्न जरुरी छ,’ उनले भने ।
गण्डकी प्रदेशमा मन्त्रालयको सङ्ख्या घटाइयो गण्डकी। गण्डकी प्रदेश सरकारले मन्त्रालयको सङ्ख्या घटाएको छ। यसअघि १२ वटा मन्त्रालय रहेकोमा त्यसलाई घटाएर सात बनाइएको प्रदेश सरकारका प्रवक्ता एवं मन्त्री सीताकुमारी सुन्दासले जानकारी दिए। उनका अनुसार सङ्ख्या घटाएर मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, आर्थिक मामिला मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय तथा स्वास्थ्य मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र कृषि तथा जलस्रोत मन्त्रालय बनाइएको छ। मन्त्रालयको सङ्ख्या कटौतीसँगै मन्त्रिपरिषद्ले छिट्टै पूर्णता पाउने मन्त्री सुन्दासको भनाइ छ। मन्त्रालयको सङ्ख्या कटौती नहुँदासम्म विना विभागीयमन्त्रीका रुपमा शपथ लिनुभएका तीन जनामन्त्रीको जिम्मेवारी बाँडफाँट हुन सकेको थिएन। गत पुस २५ मा मुख्यमन्त्री खगराज अधिकारीसहित तीन विना विभागीयमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका थिए। विना विभागीयमन्त्रीका रुपमा नेकपा (माओवादी केन्द्र)का हरिबहादुर चुमान, नेकपा (एमाले)बाट सीताकुमारी सुन्दास र राष्ट्रिय प्रजातन्त्र पार्टीका पञ्चराम गुरुङ रहेका छन्।
सशस्त्रको ११ नं गण रौतहटकाे उत्कृष्ट उपाधि खोसियो काठमाडौं। सशस्त्र प्रहरीको २२ औ स्थापना दिवसमा उत्कृष्ट गणको रुपमा छनौट भएको मधेश प्रदेशको ११ नंम्बर रौतहट गणको पुरस्कार खोसिएको छ। सशस्त्र प्रहरी बल मुख्यालयले पुरस्कृत गर्न बोलाइएका एसपी ध्रुव कार्की पुरस्कार खोसिएपछि बाटोबाटै फिर्ता भएका छन्। सशस्त्रको वार्षिकोत्सवमा सबैभन्दा उत्कृष्ट बटालियनले प्राप्त गर्ने रनिङ सिल्ड लिन बोलाइएका कार्कीलाई बाटोबाटै फिर्ता पठाइएको मूख्यालय स्रोतले जनाकारी दियो। उनकै गणमा रहेको एक बिओपीले गम्भीर त्रुटी गरेको फेला परेपछि उनलाई फिर्ता पठाइएको स्रोतको दावी छ। एआइजीहरु नारायणदत्त पौडेल, सीपी गौतम र वंशी दाहालले उनको पुस्कार खोस्ने निर्णय गरेका थिए। उनकै मातहतमा रहेको एउटा विओपीले आर्थिक अपचलन गरेको फेला परेपछि उनलाई पुरस्कार दिनबाट रोकिएको सशस्त्र मूख्यालय स्रोतले जनाएको छ। यो वर्ष विभिन्न गणमध्ये रौतहटको गण पहिलो भएकाले उसलाई मंगलबार उक्त सिल्ड प्रदान गर्ने तयारी भएको थियो। उनको साटो विनोद घिमिरेले उत्कृष्ट पुरस्कार पाउने अवसर प्राप्त गरेको स्रोतको दावी छ।
सडकमा तीन फिट हिउँ जमेपछि यारी-हिल्सा सडक अवरुद्ध सुर्खेत। लामो समयको हिमपातपछि चीनसँगको सीमावर्ती क्षेत्रको हुम्लाको सिमकोट-हिल्सा सडकअन्तर्गतको यारी-हिल्सा सडक बन्द भएको छ। सडकमा तीन फिटभन्दा बढी हिउँ जमेपछि उक्त खण्डको सडक बन्द भएको हो। प्रमुख जिल्ला अधिकारी सीता परियारले दुई दिन लगातारको हिमपातपछि उत्तरी सीमा क्षेत्र यारीदेखि हिल्सासम्मको सडक यातायात बन्द भएको बताए। गत असोज कात्तिकमा परेको हिउँ सडकमा जम्दा त्यसयता सो क्षेत्रमा सडक बन्द हुँदै आएको थियो। उक्त सडकमा जमेको हिउँ गत पुस १७ र १८ गते नाम्खा गाउँपालिकाले डोजर लगाएर पन्छाएपछि साढे तीन महिनापछि सडक नियमित भएको थियो। उनले दुई हप्ताभन्दा बढी समय सञ्चालन भएको यारी-हिल्सा क्षेत्रको सडक यातायात सेवा पुनः बन्द भएको बताए। चार हजार छ सय मिटर अग्लो स्थानमा रहेको नारा लेक क्षेत्रको सडक हिउँले सेताम्मे भएपछि यातायात सेवा सञ्चालन हुन नसक्ने भएको हो। चीनले एकतर्फी नाका खुलाएपछि हिल्सामा व्यापारी प्रयोजनका लागि खाद्यान्न, लत्ताकपडा र विकास निर्माणको सामान हिल्सामा आयात भएको थियो। हिमपातले सडक बन्द भएपछि उक्त सामान हिल्सामै रोकिएको छ। सडक बन्द भएपछि सामानका साथै व्यापारी, सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी, यारी नाका भन्सारका कर्मचारी र हिल्साका स्थानीयलाई आउजाउमा समस्या भएको छ। अब सो क्षेत्रको हिमपात डोजरले नपन्छाएसम्म यातायात सेवा सञ्चालन हुने छैन। सिमकोटमा पहिलो हिमपात उत्तरी नाम्खा गाउँपालिकामा तेस्रो पटक हिमपात भए पनि सदरमुकाम सिमकोटलगायतका क्षेत्रमा भने पहिलो पटक हिमपात शुक्रबार , शनिबार पर्दा समस्य भएको छ । सुरुमा परेको हिउँ बिलाउने गरेको भए पनि यतिबेला भने एक फिटभन्दा बढी हिउँ जमिनमा जमेको छ। हिमपातले चिसो अत्यधिक बढेको छ भने दुई दिनदेखि हवाई सेवा बन्द छ। यस वर्षको पहिलो हिमपात भएका कारण स्थानीयमा भने खुसी ल्याएको छ।
काँगेलडाँडा विमानस्थल प्रयोगहीन सोलुखुम्बु। सोलुखुम्बुको काँगेलडाँडा विमानस्थल वर्षौंदेखि प्रयोगहीन भएको छ। नेपालकै सबैभन्दा बढी विमानस्थल भएको जिल्लाका रुपमा परिचित सोलुखुम्बुको थुलुङ दूधकोसी गाउँपालिका-२ स्थित सो विमानस्थल करिब सात वर्षदेखि उपयोगमा आउन सकेको छैन। राज्यको करोडौँ लगानीमा २०५२ सालमा निर्माण गरिएको विमानस्थलमा २०७२ सालपछि उडान तथा अवतरण ठप्प बनेको हो। लामो समय प्रयोगविहीन भएसँगै सो विमानस्थल अहिले गौचरणमा परिणत भएको छ। करिब आधा दशकपछि २०७७ मङ्सिर ३० गते परीक्षण उडान हुँदा हौसिएका स्थानीयसमेत उडान परीक्षणमै सीमित हुँदा अहिले निराश बनेका छन्। प्राविधिक हिसाबले विमानस्थल निर्माण नै त्रुटिपूर्ण रहेकाले मर्मत नगरी सञ्चालन गर्नसक्ने अवस्था नरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। टावर तथा घेराबारसमेत जीर्ण बन्दै गएको सो विमानस्थल सञ्चालनमा आउने स्थानीयले आशा मारिसकेका छन्। विमानस्थल सञ्चालनमा ल्याउन सक्दो कोसिस गरेको भए पनि सफल नभएको थुलुङ दूधकोसी गाउँपालिकाले जनाएको छ। विसं २०५२ मा निर्माण सुरु भएको विमानस्थलमा २०६२/६३ देखि उडान सेवा सुरु भएको थियो। विसं २०७२ सम्म नेपाल एयरलाइन्स र तारा एयरले उडान भर्दै आएको विमानस्थलमा त्यसपछि उडान बन्द भएको थियो।
जहाज दुर्घटना : सेती नदीमा डा दम्पतीको सामूहिक दाहसंस्कार पाेखरा । पोखराको सेती खोँचमा भएको जहाज दुर्घटनामा परी निधन भएका पोखरा–४ गणेशटोल निवासी डाक्टर परिवारको सामूहिक दाहसंस्कार गरिएको छ । दुर्घटनाको आठ दिनपछि अस्पतालले परिवारलाई शव बुझाएपछि पोखरा सेती नदीस्थित तुल्सी घाटमा आज उनीहरूको सामूहिक दाहसंस्कार गरिएको हो । काठमाडाैँबाट पोखरा आउने क्रममा जहाज दुर्घटनामा परी पोखरा–४ गणेश टोल निवासी एकै परिवारका ३८ वर्षीय डा सुशील श्रेष्ठ, उनकी श्रीमती डा सोना श्रेष्ठ र १५ महिने छोराको निधन भएको थियो । सेती नदीमा आइतबार डाक्टर दम्पतीलाई एउटै चितामा दागबत्ती दिइएको छ भने नाबालक छोराको व्रतबन्ध भइनसकेका कारण सेती नदीको किनारमा गाडिएको छ । सुशीलका बुबा मदनकाजी विभिन्न रोग र परिवारको चिन्ताका कारण किरिया बस्न सक्ने अवस्था नहुँदा एक ब्राह्मणलाई किरिया बस्न लगाइएको छ । तीन जनाकै शव क्षतविक्षत अवस्थामा थिए । डा सुशील दुई वर्षदेखि राष्ट्रिय ट्रमा सेन्टरमा अर्थोपेडिक सर्जनका रूपमा कार्यरत थिए । डा सोना पनि एमडी गर्दै थिइन् । डा सुशीलले काठमाडौँ मेडिकल कलेजबाट एमबीबीएस पढेर चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) बाट अर्थोपेडिक सर्जरीमा एमडी गरेका थिए । शोकमा डुबेको परिवारलाई सान्त्वना दिन आज मदनकाजी श्रेष्ठको घरमा थुप्रै छिमेकी जम्मा भएका थिए । मदनकाजी श्रेष्ठ नेकपा (समाजवादी) पार्टीका सल्लाहकारसमेत हुन्र । परिवारको निधनका कारण मदनकाजीको आँखामा आँसु आठ दिनदेखि थामिएको छैन । घरमा शव ल्याएपछि बुबा मदनकाजीलाई सम्हाल्नै नसकिएको छिमेकी कृषमान पालिखेले सुनाए । सुशीलकी आमा पनि परिवारको सम्झनाले मुर्छित अवस्थामा छिन् । विभिन्न रोगसँग लड्दै आएका श्रेष्ठलाई आइतबार पोखरामा भएको जहाज दुर्घटनाले परिवारमा परेको बज्रपातले झनै कमजोर बनाएको छ । उनका कान्छा छोरा, बुहारी र १५ महिने नातिको पोखराको सोती खोँचमा भएको जहाज दुर्घटनामा परेर निधन भएको हो । परिवारसँग बसेर खुसीसाथ माघे सङ्क्रान्ति मनाउने सपना बोकेर काठमाडाैँबाट पोखरा आउँदै गरेको यती एयरलाइन्सको एटीआर दुर्घटनाले मदनकाजीका कान्छा छोरा ३८ वर्षीय डा सुशील श्रेष्ठ, बुहारी डा सोना र १५ महिने नाबालक नातिको सपना अधूरै बन्यो । “आँखामा राखे पनि नबिझाउने, अनुशासित डा सुशील, उहाँकी पत्नी र छोराको निधनले गाउँ नै शोकमा डुबेको छ । सबैलाई सम्मान र अनुशासित व्यक्तिको निधनले समाज र गाउँलाई नै टुहुरो बनाउँदो रहेछ”, पालिखेले भने, “भुल्छु भन्दा पनि उनीहरूले आफूप्रति गरेको माया र सम्मानलाई भुल्नै सक्दिन ।” रासस
ओझेलमा पर्दै कैलालीको नायल ताल कैलाली । शनिबारको दिन पारेर दशरथ चन्द बैतडी विद्यार्थी समाज कैलालीले गोदावरी नगरपालिकामा पर्ने नायल तालको भ्रमण ग¥यो । नगरपालिका–१२ मा रहेको ताल चुरे पर्वत शृङ्खलाको सबैभन्दा उचाइमा अवस्थित ताल हो । यो ताल निकै मनमोहक छ । चारैतिर डाँडाले घेरिएको बीचमा ताल छ । झन्डै एक किलोमिटर लम्बाइ र तीन सय ४० हेक्टर क्षेत्रफलमा फैलिएको छ । सुदुरपश्चिम प्रदेशका डोटी, डडेल्धुरा, कञ्चनपुर र कैलालीको सङ्गमस्थलमा उक्त ताल रहेको छ । नायलसम्म कैलालीको गोदावरी ओलानी हुँदै सडक पुगेको छ । उक्त बाटोबाट जाँदा तालसम्म पुग्न गाडीमा तीन घण्टा लाग्नसक्छ । यस्तै कञ्चनपुरको वाणीबङ्कदेखि पनि सडक सञ्जाल पुगेको छ । यो बाटोबाट तालपुग्न गाडीमा दुई घण्टाको औसत समय लाग्छ । शनिबार बिहान धनगढीबाट ९ बजे गाडीको यात्रा गर्दै विद्यार्थी समाजका सदस्यहरू दिउँसो १ बजे तालमा पुगेका थिए । तालसम्म पुग्न भोगेका कठिनाइबारे समाजका अध्यक्ष चेतन विक्रम चन्द भन्छन्, “सरकारले तोकिएको राजधानी गोदावरीबाट करिब ३० किलोमिटरको दूरीमा रहेको नायल तालको संरक्षण सम्बद्र्धन अभावका कारण कञ्चनपुर, कैलाली र डडेल्धुराको सीमा क्षेत्रमा रहेको नायल ताल ओझेलमा परेको छ ।” अहिले तालको संरक्षणका लागि कसैको पनि ध्यान नपुग्दा ताल पुरिँदै गएको छ । उक्त तालमा अहिले त्यहाँ भएको बोटविरुवा तालमा खस्दै गएका छन् । तालको दायाँबायाँ माटो खसेर ताल पुरिँदै गएको छ । इतिहास र प्राकृतिक सौन्दर्यताले भरिभराउ ताल संरक्षणका लागि तीनै तहका सरकार बेखबर छन् । तालको खासै प्रचारप्रसार भने हुन सकेको छैन । यदि तालको प्रचारप्रसार भएको भए त्यहाँ पर्यटकको घुइँचो लाग्ने गर्दथ्यो । पर्यटक आउन थाले त्यहाँका स्थानीयवासीको व्यापार व्यवसाय प्रवद्र्धन हुने थियो । डोटी राज्य हुँदा मुगल दरबारका रुपमा परिचित गाँउमा रहेको नायल ताल अहिले संरक्षण अभावमा ओझेलमा पर्दै गएको समाजसेवी राजबहादुर चन्दले बताए । उनले भने, “उक्त तालको तीनै तहको सरकार मिलेर प्रचारप्रसार गर्नुपर्ने देखिन्छ । त्यहाँ पुगेका आन्तरिक तथा बाह्य पर्यटकलाई खाने बस्ने तथा तालको बारेमा जानकारी दिने गाइडको आवश्यकता देखिएको छ ।” “यो ताल कैलाली, कञ्चनपुरबाट झन्डै २०र३५ किलोमिटर उत्तरमा पर्छ,” उनले भने, “प्राकृतिक ताल विभिन्न जीवजन्तु चराचुरुङ्गीको बासस्थानसमेत हो । ताल सरक्षणका लागि सरोकारवाला निकायले समयमै ध्यान दिन आवश्यक छ ।” स्थानीय पद्म बोहराका अनुसार परम्परागत विश्वास सुनाउँदै भने, “तत्कालीन समयमा राजाले मानिसको मासु खान पल्केपछि गाँउमा सबै मानिसमाथि मार्दै खानेक्रम चलेको थियो । पछि ती राक्षसी राजासँग मानिस र देउताको लडाइँ भयो । लडाइँ मानिस र देउता विजयी भए ।” उनका अनुसार अहिले पनि ताल क्षेत्रमा भगवती, सिद्धभगवती र घण्टेश्वर कालिका तीन देउवाको पूजा आज गरिने चलन छ ।
अर्घाखाँची महोत्सवविरुद्ध अदालत पुगे गैरै अर्घाखाँची । शनिबार बिहान सामाजिक सन्जालमा एउटा भिडियो सार्वजनिक भयो । जुन भिडियोमा नेपाल पत्रकार महासंघ अर्घाखाँचीका सचिवसमेत रहेका व्यवसायी विनोद गैरैले आफूले उच्च अदालतमा अर्घाखाँची महोत्सव रोक्नको लागि गुहारेको बताए । आफ्नै फेसवुकबाट भिडियो सार्वजनिक गरेका गैरेले विद्यालय नजिकै मेला लगाउन खोजिएको र मेलाका कारण विद्यार्थीको अधिकार खोसिएको भन्दै अदालतको सहारा लिनुपरेको दाबी गरिरहेका छन् । अर्घाखाँचीमा बाल अधिकारकर्मी छन् की छैनन् भन्दै अदालत गुहारेका गैरेले अदालतले न्याय दिने विस्वास व्यक्त गरेका छन् । यता मेलाको आधिकारीक स्वीकृती दिने सन्धिखर्क नगरपालिकाले भने विद्यालयसँग समन्वय भइसकेको जनाएको छ । आज नै सन्धिखर्कमा सम्पन्न सर्वपक्षीय बैठकमा सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले सवै पक्षको अध्ययन गरेर स्वीकृती दिएको भए पनि केही व्यक्तिले बार्गेनिङ्ग नमिलेपछि अदालत गुहारेको बताए । यता नेपाल पत्रकार महासंघ अर्घाखाँचीले भने आफूहरू संस्थागत रुपमै मेलाको पक्षमा रहेको जनाएको छ । अर्घाखाँचीमा क्रियाशिल राजनीतिक दल, जिल्लामा रहेका संघ संस्था तथा आम जिल्लावासी नै मेलाको पक्षमा हुँदाहुदै केही व्यक्ति गलत मानसिकताका साथ विरोधमा लागेको अर्घाखाँची चेम्वर अफ कमर्सका अध्यक्ष हरिप्रसाद भुसालले बताए । अर्घाखाँची जिल्ला सदरमुकाम सन्धिखर्कमा अर्घाखाँची महोत्सव संचालन हुँदैछ । अर्घाखाँची चेम्वर अफ कमर्स र अर्घाखाँची उद्योग वाणिज्य संघको संयुक्त आयोजना तथा सन्धिखर्क नगरपालिकाको संरक्षकत्वमा हुने महोत्सवमा नेपाल पत्रकार महासंघ, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ, लोक तथा दोहोरीगित प्रष्ठिान, अर्घाखाँची युवा परिषद लगायतका स्थानीय संस्था सह आयोजक रहेका छन् । यही माघ ११ गतेदेखी २४ गतेसम्म सदरमुकाम सन्धिखर्कको कुडुले फाँटमा संचालन हुने मेलाको प्रभानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नेगरी तयारी भएको स्रोतले बताएको छ ।
रुकुम पूर्वमा खाद्य कम्पनीको चामलको माग बढ्दो मुसीकोट । रुकुम पूर्वमा खाद्यको चामलको माग बढेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जिल्ला शाखाका अनुसार जिल्लामा चामलको माग बढेको हो । यो भन्दा पहिला जिल्लामा खाद्यको शाखा कार्यालय थिएन । चामलको माग बढेपछि जिल्लामा शाखा नै स्थापना गरेर चामल बिक्री सुरु गरिएको छ । जिल्लामा असोजदेखि खाद्य, व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखा रुकुमकोटमा स्थापना भएको छ । योभन्दा पहिला शोभा डिपो र तकसेरा डिपोबाट चामल बिक्री हुँदै आएको थियो । यो आवमा जिल्लामै शाखा स्थापना हुँदा सहज भएको शाखा प्रमुख चन्द्रबहादुर खड्काले जानकारी दिए । शाखाबाट असोजदेखि हालसम्म साढे ११ सय क्विन्टल चामल बिक्री भएको छ । रुकुमकोट शाखाबाट मात्रै यति धेरै मात्रामा चामल बिक्री भएको शाखा प्रमुख खड्काले बताए । उनका अनुसार तकसेरा डिपोबाट पनि चामल बिक्री भइरहेको छ । जिल्लामा धान कम फल्ने गर्छ । सिस्ने गाउँपालिकाबाहेक अन्य दुई पालिकामा भने कमै मात्रामा धान खेती हुने भएकाले पनि खाद्यको चामल धेरै बिक्री हुने गरेको शाखा प्रमुख खड्काको भनाइ छ । असोज १ गतेदेखि कात्तिक १५ गतेसम्म शाखाबाट सस्तोमा चामल बिक्री वितरण पनि भएको थियो । उक्त समयमा एक क्विन्टलमा रु सात सय छुटमा चामल बिक्री गरिएको शाखा प्रमुख खड्काले बताउनुभयो । उहाँका अनुसार सोही अवधिमा मात्रै सात सय क्विन्टल चामल बिक्री भएको थियो । शाखाले सहकारीमार्फत गाउँगाउँमा पुगेर चामल बिक्री गर्ने योजना पनि बनाएको छ । जिल्लामा रहेका जुनसुकै सहकारीलाई चामल बिक्री गर्नका लागि आग्रह गरिएको छ । सहकारीले खाद्य शाखासँग सम्झौता गरेमा सदरमकामकै मूल्यमा गाउँमा चामल बिक्री गर्न पाउने छन् । तकसेरा डिपोमा भने खाद्यको प्रादेशिक कार्यालयबाट सिधै चामल ढुवानी हुने गरेको छ । तकसेरामा रहेको डिपोमा ठेकेदारले चामल ढुवानी गर्ने गरेका छन् । प्रादेशिक कार्यालय भैरहवाले चामलको कोटाअनुसार ठेक्का आह्वान गर्ने र ठेकेदारले तकसेरासम्म ढुवानी गर्ने गरेको रुकुमकोट शाखा प्रमुख खड्काले बताए। यो आर्थिक वर्षमा तकसेरा खाद्य डिपोमा सात सय ५० क्विन्टल चामल ढुवानीको ठेक्का परेको र आवश्यक परेमा कोटा थप हुनेछ । हाल जिल्लामा खाद्य शाखाबाट स्टिम जिरा, सोना मन्सुली, अरुवा मोटो र बास्मती चामल बिक्री भइरहेको छ ।
मधेस प्रदेशसभाका दुई स्वतन्त्र सांसद जसपामा प्रवेश काठमाडौं । मधेस प्रदेशसभामा स्वतन्त्र निर्वाचित दुई प्रदेशसभा सदस्य जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन् । महोत्तरी क्षेत्र नं २ (२) बाट निर्वाचित प्रदेशसभा सदस्य सुरिता साह र पर्सा–३ (१) बाट निर्वाचित प्रमोदकुमार जैसवाल जसपामा प्रवेश गरेका हुन्। दुवै प्रदेशसभा सदस्यलाई आज बालकुमारीस्थित जसपाको पार्टी कार्यालयमा अध्यक्ष उपेन्द्र यादवले स्वागत गर्दै पार्टी प्रवेश गराएको जसपाका प्रवक्ता मनिस सुमनले जानकारी दिए । उनका अनुसार मधेस प्रदेशसभामा जसपाको १६ प्रदेशसभा सदस्य रहनुभएकामा थप दुई प्रवेश गरेपछि प्रदेशसभामा अब १८ जना भएका छन् ।
रोल्पामा स्नातकोत्तर तहको अध्ययन सुरु हुने रोल्पा । रोल्पामा स्नातकोत्तर तहको अध्ययन सुरु हुने भएको छ । सदरमुकाम लिवाङको जलजला बहुमुखी क्याम्पसले स्नातकोत्तर तहको पठनपाठन सञ्चालन गर्न लागेको हो । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आङ्गिक क्याम्पसका रुपमा रहेको सो क्याम्पसले चालु शैक्षिक सत्रदेखि स्नातकोत्तर तहमा शिक्षाशास्त्र सङ्काय अन्तर्गत ‘पाठ्यक्रम र मूल्याङ्कन’ विषय अध्यापन गराउन लागेको क्याम्पस प्रमुख खेम खड्काले जानकारी दिए । “स्नातकोत्तर कक्षा सञ्चालनका लागि भौतिक तथा मानवीय स्रोत उपलव्ध रहेकाले तत्काल कम्तीमा दुई विषयमा कक्षा सञ्चालन गर्न सकिने भएपनि हाल एउटा विषयको मात्रै स्वीकृति पाएका छौँ,” खड्काले भने। विद्यार्थी भर्नाका लागि क्याम्पसले आवेदन गरिसकेको छ । त्यसका लागि माघ २१ मा प्रवेश परीक्षा सञ्चालन गरिनेछ भने फागनु ३ सम्म भर्ना समय तोकिएको छ । उहाँले फागुन ५ देखि नियमित पठनपाठन सुरु गर्ने योजना रहेको बताए । यसअघि जिल्लामा स्नातकोत्तर तहको पढाइ नहुदा यहाँका विद्यार्थीहरु दाङ, नेपालगञ्ज, प्यूठान, बुटवल, काठमाडाँैलगायतका स्थानमा जानुपर्ने बाध्यता थियो । कक्षा सञ्चालनका लागि यसअघि मध्यपश्चिमाञ्चल विश्वविद्यालयको ‘स्कूल अफ एजुकेशन’का डिन प्राध्यापक डा लीलाधर तिवारी नेतृत्वको तीन सदस्यीय टोलीले सम्भाव्यता अध्ययन गरेर फर्किएको थियो । विसं २०६१ मा स्थापना भएको जलजला बहुमुखी क्याम्पसमा हाल स्नातक तहमा मानविकी, व्यवस्थापन र शिक्षाशास्त्र पठनपाठन हुँदै आएको छ । क्याम्पसमा हाल चार सय ८३ विद्यार्थी अध्ययन गरिरहेका छन् । त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा रोल्पाको जुगारमा स्नातक तहको पठनपाठन हुने गरी अर्को क्याम्पस सञ्चालनमा छ ।
होटल हवको रुपमा अघि बढ्दै नेपालगञ्ज बाँके । पश्चिम नेपालको आर्थिक हब मानिने बाँकेको नेपालगञ्ज होटल हवको रुपमा अघि बढ्दै गएको छ । नेपालगञ्जबाट हुम्ला सिमिकोट हुँदै तिब्बत्को मानसरोबर पुग्ने छोटो रुट भएका कारण खासगरी भारतीय पर्यटक बढन थालेसँगै यहाँ होटलमा लगानी बढेको हो । होटल व्यवसायीका अनुसार बाँकेको नेपालगञ्ज र कोहलपुरका होटल व्यवसायमा रू १२ अर्बभन्दा बढी लगानी भएको छ । यसअघि सञ्चालनमा आएका होटललाई पनि स्तरोन्नति गरेर लगानी बढाउने क्रम जारी छ । होटल व्यवसायी सङ्घका अनुसार जिल्लाभरि साना र ठूला गरी करिब तीन हजार होटल सञ्चालनमा छन् । जसमा पाँच हजार कोठा छन् भने एकै पटक १० हजार जनासम्मलाई राख्न सकिने क्षमता छ । जिल्लामा पछिल्लो समय ठूलो लगानीमा तारे होटल खोल्नेक्रम पनि बढेको छ । बाँकेमा हालसम्म दुई वटा पाँचतारे होटल खुलिसकेका छन् भने दुई वटा चारतारे होटल छन् । बाँकी तीनतारे र अन्य सुविधासम्पन्न पर्यटकस्तरीय होटल छन् । पछिल्लो समय भारतीय पर्यटकलाई नेपालगञ्ज हुँदै मानसरोवर जान सजिलो हुनेभएपछि ती पर्यटकलाई लक्षित गरी पर्यटकस्तरीय सुविधा सम्पन्न होटल खुल्ने क्रम बढेको हो । मानसरोवर मात्र नभएर नेपालगञ्जदेखि हुम्ला, डोल्पा, खप्तड, रारामा ट्रेकिङ सुरु भएपछि तेस्रो मुलुकका पर्यटक पनि आउन थालेको व्यवसायी बताउँछन् । होटलको सङ्ख्या बढ्दै जाँदा व्यवसायी होटल स्तरोन्नतिका साथै थप सेवा विस्तारमा लागेकोे सिद्धार्थ विजनेस ग्रुप अफ हस्पिटालिटीका प्रबन्धक केशव न्यौपानेले बताए। आफूहरूले पनि दुई हजार जना क्षमताको ब्याङ्केट हल बनाइसकेको बताउँदै नेपालगञ्ज र कोहलपुर बजारका दृश्यावलोकन गर्न मिल्ने गरी होटलको आठ तलामा ‘रुफटप रेस्टुराँ’ सञ्चालन गरिरहेको उनको भनाइ छ । पर्यटनको सम्भावना बाँकेमा पर्यटन व्यवसायको ठूलो सम्भावना छ । यहाँका पर्यटकीय स्थलहरूको उचित संरक्षण सम्बद्र्धन हुनसकेमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकहरूको आकर्षणको केन्द्र बन्न सक्छ । पश्चिम नेपालकै प्रसिद्ध धार्मिकस्थल बागेश्वरी मन्दिर, बाघ संरक्षण गर्ने उद्देश्यले स्थापित बाँके राष्ट्रिय निकुञ्ज, विभिन्न ताल तलैया, वाटरपार्क, गाभर उपत्यका होमस्टेमा विभिन्न समुदायका संस्कृती, प्रांगारिक कृषि प्रणाली, जैविक पार्कलगायत पर्यटक बहलाउने थुप्रै मनमोहक दृश्यहरू छन् । जसलाई संरक्षण र सम्बर्दन गर्दै पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सकियो भने जिल्लाको समृद्धिको आधार तय गर्न पर्यटन क्षेत्रले टेवा दिने देखिन्छ । जिल्लामा धार्मिक पर्यटनको समेत ठूलो सम्भावना छ । यहाँ बागेश्वरी मन्दिर, जुगेश्वर महादेवको मन्दिर, सङ्कटमोचन हनुमान मन्दिर, जामा मस्जिद, इदगाहा मस्जिद, कर्बला, गुरुद्वारा, सरस्वती मन्दिर, बौद्ध गुम्बाजस्ता विभिन्न धर्म संस्कृतिका आस्थाका केन्द्रहरू रहेको धर्मगरु बागेश्वरी मन्दिरका मूल महन्त चन्द्रनाथ योगीले बताए । त्यस्तै अन्य पर्यटकीयस्थलमा महेन्द्रपार्क, रानी तलाउ, बोटिङ विहार, वाटरपार्कआदि पर्यटकका लागि गन्तव्यस्थल हुन् । बाँके राष्ट्रिय निकुञ्ज, कोहलपुर गोलपार्क, ढकेरी वनभोज क्षेत्र, सिक्टा पनि पर्यटनको रोजाइमा पर्दछन् । पछिल्लो समय पर्यटक आकर्षित गर्न यहाँ निजी क्षेत्रको लगानी बढ्दै गएको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष नन्दलाल बैश्यको भनाइ छ । पर्यटक आकर्षित गर्न यहाँका विभिन्न स्थानमा रू डेढ अर्ब लगानीमा तीनवटा वाटरपार्क सञ्चालनमा छन् । नेपालगञ्ज उपमहानगरपालिका–१२ स्थित बाले गाउँमा मानसरोवर एम्युजमेन्ट पार्क एण्ड रिसोर्टले ‘नेपालगञ्ज थ्रिलर जोन’ वाटर पार्क निर्माण गरेको सञ्चालक मिश्रले बताउनुभयो । त्यस्तै राँझा विमानस्थल नजिकै ‘वन्डरल्याण्ड वाटर पार्क’ निर्माण भएको छ भने अर्को कोहलपुरको हवलदारपुरमा मानसरोवर होलिडेइनमार्फत् वाटर पार्क र मनोरञ्जन केन्द्र निर्माण भएको छ । व्यवसायीहरु नेपालगञ्जमा पर्यटकको बसाइँ लम्ब्याउन पर्यटकीयस्थलमा लगानी बढाउन जरुरी भएको बताउँछन् ।
सुर्खेत गाडी दुर्घटनामा चार जनाको मृत्यु, एक गम्भीर घाइते कर्णाली।  वीरेन्द्रनगर नगरपालिका–११ सुर्खेत झुप्राखोलास्थित रत्न राजमार्गमा सवारी साधन दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–७ सुर्खेतका २७ वर्षीय सागर शाही, दैलेख डुङ्गेश्वर गाउँपालिका–५ दैलेख निवासी ३३ वर्षीय दीपेन्द्रजङ्ग शाही, भगवतीमाई गाउँपालिका–५ दैलेख निवासी ३१ वर्षीय बबिन शाही, दैलेख गुराँस गाउँपालिका–३ निवासी ३६ वर्षीय राजेन्द्र बिसी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। उनीहरूको उपचारका क्रममा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार छिन्चुदेखि सुर्खेततर्फ आउँदै गरेको बाप्र०१०२६च ९२१३ नंको उक्त गाडी आज बिहान २ः३० बजे अनियन्त्रित भई सडकबाट ८० मिटर तल खसेको थियो। उक्त घटनामा परी भैरवी गाउँपालिका–५ दैलेखका २५ वर्षीय वीरेन्द्रराज शाही गम्भीर घाइते भएको र उनको प्रदेश अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
भोजपुरे खुकुरी : माग बढ्यो, कालीगढको अभाव भोजपुर। ख्यातिप्राप्त भोजपुरे खुकुरीको माग अन्तर्राष्ट्रिय बजारमासमेत हुने गरेको छ। यहाँ बनेको खुकुरीको माग देश तथा विदेशमा भए पनि मागअनुसार खुकुरी उत्पादन गर्न नसकिएको व्यवसायीको भनाइ छ। देश, विदेशमा पहिचान बनाएको भोजपुरे खुकुरी दक्ष कालीगढ अभावमा मागअनुसार उत्पादन गर्न समस्या रहेको व्यवसायीको भनाइ छ। पुस्तान्तरण नहुँदा तथा संरक्षणको अभावले खुकुरी बनाउने कालीगढ पेसा लोप हुने अवस्थामा पुगेको उनीहरूको भनाइ छ। खुकुरीले ख्याति कमाएको जिल्लामा दक्ष कालीगढ अभावले उत्पादनमा कमी आएको स्थानीय व्यापारीको भनाइ छ। खुकुरी बनाउने पेसा नयाँ पुस्ताको रोजाइँमा नपर्दा उत्पादनमा कमी आएको देखिन्छ। यहाँ भोजपुरे, सिरुपाते, बाँसपाते, चित्लाङे, कोचिमुडा, पानवाला, धारखोले, बोखिमेलगायतका खुकुरी बन्ने गरेका छन्। यस्ता खुकुरी विश्वबजारमा समेत प्रख्यात छ। यी खुकुरीको बजारमा धेरै माग हुने गरेको छ। यहाँ उत्पादन भएका खुकुरी आकारअनुसार न्यूनतम रु एक हजारदेखि अधिकतम रु १० हजारसम्म पर्ने व्यवसायीको भनाइ छ। यहाँको खुकुरीको मागलाई धान्नै मुस्किल रहेको स्थानीय व्यापारीको भनाइ छ। विदेश तथा बाहिरका जिल्लाबाट दुईदेखि चार सयसम्म खुकुरीको माग आउने भए पनि धेरै माग भएको खण्डमा धान्न समस्या हुने रञ्जिता खुकुरी उद्योगका सञ्चालक गणेश गजमेरले बताए। “भोजपुरे खुकुरीको माग धान्न मुस्किल छ”, गजमेरले भने, “विदेशसँगै, देशका विभिन्न ठाउँबाट माग आउँछ । मागअनुसारको खुकुरी उत्पादन गर्न सकिएको छैन।” कालीगढ पेसालाई बचाइराख्नका लागि खुकुरी बनाउनेलगायतका तालिम सञ्चालन गरिए पनि युवाशक्ति विदेश जाने लहरले समस्या भएको स्थानीय खुकुरी उद्योग सञ्चालक हीरा श्रेष्ठ बताउँछन्। पेसालाई जोगाइराख्न राज्यले विशेष खालको कार्यक्रम सञ्चालन गर्नुपर्ने उनीहरूको सुझाव छ। “भोजपुरे खुकुरीको माग अन्तर्राष्ट्रिय बजारबाटसमेत हुने गरेको छ”, व्यवसायी श्रेष्ठले भने, “खुकुरी बनाउने दक्ष कालिगढको सङ्ख्या बर्सेनि घट्दै गएको अवस्था छ। बाहिरबाट आएको माग पूरा गर्न सकिएको छैन। पेसालाई जोगाएर अर्को पुस्तामा लैजानुपर्ने अवस्था छ।” दशक अघिसम्म धेरै कालीगढ भए पनि पछिल्लो समयमा आएर व्यावसायिकरूपमा यो काम गर्ने मानिसको सङ्ख्या न्यून हुँदै गएको छ। बढी मेहेनत गर्नुपर्ने साथै व्यवसाय गर्नका लागि आवश्यक हुने कच्चा पदार्थ अभावसँगै नयाँ पुस्तामा यसप्रति मोह कम भएकाले यो पेसा सङ्कटमा पर्दै गएको कालीगढ हर्कबहादुर विश्वकर्माले बताए। “खुकुरी बनाउने कालीगढ पेसा सङ्कटमा पर्ने अवस्था छ”, विश्वकर्माले भने, “खास गरेर यो पेसालाई पुस्तान्तरण गर्न सकिएन। नयाँ पुस्ताले यो पेसालाई निरन्तरता दिन छाडेको अवस्था छ। अलिक समयपछि कालीगढ पाउन मुस्किल पर्छ।” पेसालाई लोप हुनबाट बचाउन राज्यले प्राथमिकता दिनुपर्ने विश्वकर्माले बताए। मानिसले कालीगढ पेसालाई अपहेलनाका रूपमा लिने भएकाले पनि नयाँ पुस्ताको रोजाइँमा नपरेको उनको कथन छ। “चार दशक बढी समयबाट यो काम गरिरहेको छु”, उनले भने, “यतिका समय यही पेसा गर्दा पनि आर्थिक अवस्था कमजोर नै छ। मेहेनत बढी गर्नुपर्छ। आम्दानी कम छ।” नयाँ पुस्तालाई यसतर्फ आकर्षित गरेर पेसालाई बचाउन सकिने उनको भनाइ छ। स्थानीय सरकार सञ्चालनमा आए पनि प्रोत्साहनमूलक सहयोग नपाएको कालीगढ प्रेमकुमार लुवारले बताए। व्यवसायलाई सञ्चालन गर्न स्थानीयस्तरमा पाउने कच्चा पदार्थको समेत अभाव रहेको उनको भनाइ छ। “राज्यको तर्फबाट हामीले सहयोग पाउन सकेका छैनौँ”, उनले भने, “हामीलाई व्यवसाय सञ्चालन गर्न धेरै समस्या छ। हामीलाई दैनिक कामकाजको लागि चाहिने, कोइला, बिँड, दापका लागि चाहिने काठ आदिको समस्या हुन्छ।” सामुदायिक वनबाट सहजरूपमा ल्याउन पाउने अवस्था नरहेको उनीहरूको भनाइ छ। आफूहरूले उत्पादन गरेका खुकुरीले पनि मेहेनतअनुसारको मूल्य पाउन नसकेको कालीगढहरूको भनाइ छ। खुकुरी उत्पादन गर्ने कालीगढहरू बिचौलियाको मारमा समेत पर्ने गरेका छन्। मेहेनतअनुसारको आम्दानी लिन समस्या हुने भएकाले पनि कालीगढ पेसामा लाग्नेहरुको सङ्ख्या घट्दै गएको टेम्केमैयुङ-५ मझौलेमा कालीगढ पेसा गर्दै आएका गोर विश्वकर्माले बताए। पुराणा पुस्ताले पुर्खौली पेसालाई संरक्षण गर्दै आएको भए पनि राज्यले संरक्षणमा ध्यान नदिएको उनको भनाइ छ । “कालीगढ काममा दुःख छ”, उहाँले भन्नुभयो, “पराम्परागत तरिकाबाट फलाम कुटेर परिवार धान्ने अवस्था छैन। सामुदायिक वनका कारण कच्चा पदार्थ जुटाउन नै समस्या छ। राज्यले हामीलाई यहाँ लाग्ने विद्युत्, फलाम, खुकुरी बनाउन आवश्यक पर्ने मेसिन, उपकरण खरिदमा सहयोग गरे हुने। त्यही भएर पनि धेरैले अब त पेसा नै छाडिसके।” राज्यले यही पेसा गरेर जीवनयापन गर्न सक्ने वातारण निर्माण गरिदिए पेसाको संरक्षणमा टेवा पुग्ने विश्वकर्माको भनाइ छ। “पेसाको संरक्षण अहिलेको आवश्यकता हो”, विश्वकर्मा भने, “यो पेसा गरेर सम्मानपूर्वक बाँच्ने आधार बनाउन आवश्यक छ। राज्यले त्यो वातावरण बनाइदिनुपर्‍यो। राज्यबाट पनि खास प्रोत्साहन छैन। यो काम गरेर आनन्दले बाँच्न सक्ने अवस्था भएमा नयाँ पुस्ता पनि आकर्षित हुने थिए।” जिल्लाको पहिचानलाई जोगाउँदै आएको खुकुरी बनाउने कालीगढ पेसा लोप हुँदै जानु दुःखद् रहेको जानकारहरूको भनाइ छ। पेसालाई जोगाउन राज्यले कालीगढहरूको समस्याको पहिचान गरी आवश्यक साथ सहयोगसँगै प्रोत्साहन गर्नुपर्ने उनीहरुले बताउने गरेका छन्। विदेश जाने लहरका कारण गाउँघरमा सञ्चालनमा रहेका खुकुरी बनाउने आरनहरू बन्द हुँदा यतिबेला गाउँघरका लागि पनि सदरमुकामबाट नै खुकुरी लाने गरेको व्यवसायीको भनाइ छ। रासस
सुर्खेतको झुप्राखोलामा गाडी दुर्घटना : चार जनाको मृत्यु सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-११ झुप्राखोलास्थित रत्न राजमार्गमा अनियन्त्रित भएर गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा जिप चालक वीरेन्द्रनगर नगरपालिका-७ का २७ वर्षीय सागर शाही, दैलेखको डुङ्गेश्वर गाउँपालिका-५ का ३३ वर्षीय दीपेन्द्रजंग शाही, दैलेख भगवतिमाई गाउँपालिका-५ का ३१ वर्षीय बविन शाही र दैलेख गुराँस गाउँपालिका-३ का ३६ वर्षीय राजेन्द्र बिसी रहेका छन्। दुर्घटनामा घाइते भएका उनीहरूको कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दैलेख भैरवी गाउँपालिका-५ का २५ वर्षीय वीरेन्द्रराज शाही दुर्घटनामा घाइते भएका छन्। जिप अनियन्त्रित भएर सडकबाट अन्दाजी ८० मिटर तल खसेको प्रहरीले जनाएको छ।
अर्घाखाँची महोत्सवलाई सवैको साझा मेला बनाउने प्रतिवद्धता अर्घाखाँची । यही माघ ११ गतेदेखि सदरमुकाम सन्धिखर्कमा संचालन हुने अर्घाखाँची महोत्सवलाई सवैको साझा उत्सवको रुपमा साझा मेला बनाउनुपर्नेमा अर्घाखाँची जिल्लाका सरोकारवालाहरुले प्रतिवद्धता जनाएका छन् । अर्घाखाँची महोत्सव मूल आयोजक समितिले सदरमुकाम सन्धिखर्कमा आयोजना गरेको सल्लाहकार समिति तथा मूल आयोजक समितिको बैठकमा सहभागीहरुले सिंगो अर्घाखाँची जिल्लाले अपनत्व महशुश गर्नेगरी मेला संचालनको माहौल बनाउन आग्रह गरेका हुन् । अर्घाखाँची जिल्ला सदरमुकाम सन्धिखर्कमा रहेको गच्छेघाट सम्म पुग्ने बाटो निर्माण मुख्य लक्ष्य लिएको मेलाको विषयमा छलफलको लागि चलेको बैठकमा जिल्लामा क्रियाशिल राजनीतिक दलका प्रतिनिधी, कार्यालय तथा संघ संस्थाका प्रतिनिधीहरुले मेला सफल बनाउनका लागि पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् । अर्घाखाँची चेम्वर अफ कमर्स र अर्घाखाँची उद्योग बाणिज्य संघको संयुक्त आयोजनामा संचालन हुने महोत्सवमा जिल्लामा उत्पादित कृषि तथा औद्योगिक सामग्रीहरुको प्रदर्शनीसमेत गरिने अर्घाखाँची चेम्वर अफ कमर्सका अध्यक्ष एवं मूल आयोजक समितिका सहसंयोजक अशोक कुमार श्रेष्ठले जानकारी दिए । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमसख जविनारायण कोइराला, सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठ लगायतले सवैको साझा महोत्सव बनाउनका लागि आफूहरुको पूर्ण साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गरेका थिए । कार्यक्रम उद्योग वाणिज्य संघका महासचिव तुल्सीराम खनालको संचालन र अर्घाखाँची उद्योग बाणिज्य संघका अध्यक्षसमेत रहेका पाचौं अर्घाखाँची महोत्सव मूल आयोजक समितिका संयोजक प्रदीप मिश्रको अध्यक्षतामा सम्पन्न भएको हो ।
सुदूरपश्चिम प्रदेशसभाबाट पाँच वर्षमा ६७ कानून निर्माण सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाबाट पाँच वर्षमा ६७ कानून निर्माण भएका छन् । प्रदेशसभाको पहिलो कार्याकालमा कानून निर्माण बाहेक कतिपय कानून संशोधन पनि भएका छन् । प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भइसकेको छ । प्रदेशसभाले पहिलो कार्यकालको अन्तिम समयमा लामो समयदेखि विचाराधीन प्रदेश निजामती सेवाको गठन सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८, प्रदेश प्रहरी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलगायत विधेयक पारित गरेको थियो । साझा अधिकारका विषयअन्तर्गत सङ्घमा कानून बन्नमा ढिलाइ भएपछि प्रदेश तहमा विचाराधीन रहेका यी विधायक कार्यकालको अन्तिम समयमा परित गरिएको थियो ।
प्रदेशसभा स्थापना दिवसमा मुख्यमन्त्री रावलको शुभकामना सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाको स्थापना दिवसका अवसरमा मुख्यमन्त्री राजेन्द्रसिंह रावलले शुभकामना व्यक्त गरेका छन् । “सम्पूर्ण सुदूरपश्चिम प्रदेशवासी, जनसमुदाय तथा देश विदेशमा रहनुभएका दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु”, उनले शुभकामना सन्देशमा भनेका छन् । मुख्यमन्त्री रावलले विसं २०७४ माघ ७ गते पहिलो सुदूरपश्चिम प्रदेशसभाको कार्यकाल प्रारम्भ भएको ऐतिहासिक दिवसमा सुदूरपश्चिम प्रदेशको स्थापनाको प्रत्यक्ष वा अप्रत्यक्षरूपमा योगदान पु¥याउने सबैलाई धन्यवाद व्यक्त गरेका छन् ।
रुप फेर्ने नाममा थप अस्तव्यस्त बन्दै पोखराको न्यूरोड कास्की । पोखरा सभागृहचोकदेखि बिपीचोकसम्मको दूरी एक हजार पाँच सय मिटर छ । तुलनात्मक रुपमा पोखराको अन्य सडक भन्दा फराकिलो छ यहाँको सडकखण्ड । पोखराको व्यस्त सडकमध्येमा एक हो यो सडक । सोही कारण सवारीको चाप बढी हुनुका साथै यात्रुको ओहोरदोहोर पनि धेरै हुन्छ । चाक्लो सडकमा चालकले सवारी नियम, तथा लेनको ख्याल नै नगरी ‘ओभरटेक’ र सवारी ‘क्रस’ गर्न भ्याउछन् । जसले गर्दा साना, ठूला सवारी दुर्घटना बढिरहेका छन् । सडकमा हुने यस्ता दुर्घटना न्यूनीकरण हुन नसकेपछि समस्या समाधानका लागि महानगरसम्म पुगेको थियो ट्राफिक प्रहरी । ट्राफिक प्रहरीको पहलमा पोखरा महानगरपालिकाले ‘ट्राफिक लाइट’ राख्ने योजना अघि बढाए अनुरुप ‘ट्राफिक लाइट’ का लागि पोलसँगै ‘डिभाइडर’ राख्ने काम सुरु भइसकेको महानगरपालिकाका प्रमुख धनराज आचार्यले जानकारी दिए । करिब तीन महिनामा सक्ने गरी सभागृहचोकदेखि बिपीचोकसम्म गार्डेनिङसहितको डिभाइरमा सडकबत्ती राख्ने काम सुरु गरेको जानकारी दिँदै यसले सडक दुर्घटनामा पनि कमी आउने आचार्यले बताए । महानगरले बत्ती सहितको डिभाईडर काम गरिहेकाले काम सकिएपछि ट्राफिक व्यवस्थापनमा सहज हुने ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक प्रकाश शाहले बताए । “हामीले आवश्यक ठाउँमा मात्र क्रसिङ दिएका छौँ । यसले चालकलाई कहाँबाट दाहिने, देब्रे गर्ने, कहाँबाट यू टर्न गर्ने भन्नेमा सचेत गराउँछ”, शाहले भने । तर पछिल्लो समय सुन्दरता बढाउन र सडक दुर्घटना न्यूनीकरणका लागि भइरहेको काममा ढिलासुस्ती हुँदा सहर थप अस्तव्यस्त बनेको छ भने दुर्घटनाको जोखिम पनि बढेको स्थानीय बताउँछन् । डिभाइडर र सडकबत्ती राख्ने काम छुट्टाछुट्टै कम्पनीले गरिहेका छन् । सडक बत्तीको ठेक्का पाएको कम्पनीले काम लगभग सकिसकेको छ । डिभाइडर बनाउने ठेक्का पाएको निर्माण कम्पनीले आधा काम पनि नगर्दा दुर्घटनाको जोखिम बढ्नुका साथै धुलोको सास्ती भोग्नुपरेको न्यूरोडका व्यवसायी रमेश ठकुरीले बताए । पोखरा महानगरका इञ्जिनीयर सुरेन्द्रले पौडेलले खरिद नियमावलीअनुसार यो आयोजनाका लागि वैशाखको ३० गतेसम्म म्याद भएको जानकारी दिए । उनका अनुसार काम तिव्र गतिमा नै भइरहेको छ । पिच सडकमा मिलाएर कटिङ गर्नुपर्ने भएकाकारण पनि निर्माण कार्य ढिला भएको हुनसक्ने उनले बताए । निर्माण कम्पनीले डोरी वा ट्राफिक कोन राखेर काम गरिरहेको बताए । उनले निर्माण कार्य निर्धारित समयसिमा भित्रै सम्पन्न गर्न निर्माण कम्पनीलाई ताकेता गरिरहेकाले समयमा नै काम सम्पन्न हुनेमा आफु विश्वस्त रहेको बताए ।
कम्बोडियाबाट बिर्तामोड ल्याइयो निराकार पाण्डेको शव झापा । आफू बसेको होटेलमा आगलागी भएपछि ज्यान जोगाउन हामफाल्दा मृत्यु भएका निराकरण पाण्डेको शव झापाको बिर्तामोडस्थित घर ल्याएइको छ । गत १४ पुसमा कम्बोडियाको ग्राण्ड डायमन्ड सिटी होटल एन्ड क्यासिनोमा भएको आगलागीमा ज्यान बचाउन होटेलको १२औं तलाको झ्यालबाट हाम्फाल्दा उनको मृत्यु भएको थियो । मृतक निराकरको शव शनिबार बिर्तामोड नगरपालिका–१ स्थित घरमा ल्याइएको हो । कम्बोडियाबाट उनको शव शुक्रबार काठमाडौं ल्याइएको थियो । त्यसपछि शनिबार बिर्तामोडस्थित निवासमा शव ल्याइएको हो ।
नवलपरासीमा भारतीय तिर्थालु बोकेको बस दुर्घटना, ४८ घाइते चितवन । पश्चिम नवलपरासीमा तीर्थालु सवार बस दुर्घटना हुँदा ४८जना घाइते हुन पुगेका छन । पाल्हीनन्दन गाउँपालिका–१ झरहीखोला नजिकै त्रिवेणीधाम मेलामा तीर्थ गरी भारततर्फ फर्किदै गरेको युपी १६ एफटी ७४६६ नम्बरको भारतीय बस दुर्घटना हुदाँ ४५ जना घाइते भएका हुन । प्रत्यक्षदर्शीका अनुसार सडकबाट १० मिटर तल खस्दा ६० जनामध्ये ४५ जना भारतीय तीर्थालुहरू घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । घाइतेको नजिकैको अस्पतालमा उपचार भईरहेको छ ।
रुप फेर्ने नाममा थप अस्तव्यस्त बन्दै पोखराको न्यूरोड अन्नपूर्ण (कास्की) । पोखरा सभागृहचोकदेखि बिपीचोकसम्मको दूरी एक हजार पाँच सय मिटर छ। तुलनात्मक रुपमा पोखराको अन्य सडक भन्दा फराकिलो छ यहाँको सडकखण्ड। पोखराको व्यस्त सडकमध्येमा एक हो यो सडक। सोही कारण सवारीको चाप बढी हुनुका साथै यात्रुको ओहोरदोहोर पनि धेरै हुन्छ। चाक्लो सडकमा चालकले सवारी नियम, तथा लेनको ख्याल नै नगरी ‘ओभरटेक’ र सवारी ‘क्रस’ गर्न भ्याउछन्। जसले गर्दा साना, ठूला सवारी दुर्घटना बढिरहेका छन्। सडकमा हुने यस्ता दुर्घटना न्यूनीकरण हुन नसकेपछि समस्या समाधानका लागि महानगरसम्म पुगेको थियो ट्राफिक प्रहरी। ट्राफिक प्रहरीको पहलमा पोखरा महानगरपालिकाले ‘ट्राफिक लाइट’ राख्ने योजना अघि बढाए अनुरुप ‘ट्राफिक लाइट’ का लागि पोलसँगै ‘डिभाइडर’ राख्ने काम सुरु भइसकेको महानगरपालिकाका प्रमुख धनराज आचार्यले जानकारी दिए। करिब तीन महिनामा सक्ने गरी सभागृहचोकदेखि बिपीचोकसम्म गार्डेनिङसहितको डिभाइरमा सडकबत्ती राख्ने काम सुरु गरेको जानकारी दिँदै यसले सडक दुर्घटनामा पनि कमी आउने आचार्यले बताए। महानगरले बत्ती सहितको डिभाईडर काम गरिहेकाले काम सकिएपछि ट्राफिक व्यवस्थापनमा सहज हुने ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक प्रकाश शाहले बताए। “हामीले आवश्यक ठाउँमा मात्र क्रसिङ दिएका छौँ। यसले चालकलाई कहाँबाट दाहिने, देब्रे गर्ने, कहाँबाट यू टर्न गर्ने भन्नेमा सचेत गराउँछ”, शाहले भने। तर पछिल्लो समय सुन्दरता बढाउन र सडक दुर्घटना न्यूनीकरणका लागि भइरहेको काममा ढिलासुस्ती हुँदा सहर थप अस्तव्यस्त बनेको छ भने दुर्घटनाको जोखिम पनि बढेको स्थानीय बताउँछन्। डिभाइडर र सडकबत्ती राख्ने काम छुट्टाछुट्टै कम्पनीले गरिहेका छन्। सडक बत्तीको ठेक्का पाएको कम्पनीले काम लगभग सकिसकेको छ। डिभाइडर बनाउने ठेक्का पाएको निर्माण कम्पनीले आधा काम पनि नगर्दा दुर्घटनाको जोखिम बढ्नुका साथै धुलोको सास्ती भोग्नुपरेको न्यूरोडका व्यवसायी रमेश ठकुरीले बताए। पोखरा महानगरका इञ्जिनीयर सुरेन्द्रले पौडेलले खरिद नियमावलीअनुसार यो आयोजनाका लागि वैशाखको ३० गतेसम्म म्याद भएको जानकारी दिए। उनका अनुसार काम तिव्र गतिमा नै भइरहेको छ। पिच सडकमा मिलाएर कटिङ गर्नुपर्ने भएकाकारण पनि निर्माण कार्य ढिला भएको हुनसक्ने उनले बताए। निर्माण कम्पनीले डोरी वा ट्राफिक कोन राखेर काम गरिरहेको बताए। उनले निर्माण कार्य निर्धारित समयसिमा भित्रै सम्पन्न गर्न निर्माण कम्पनीलाई ताकेता गरिरहेकाले समयमा नै काम सम्पन्न हुनेमा आफु विश्वस्त रहेको बताए।
करोडौ खर्च हुँदा पनि छाडा पशुको दिगो व्यवस्थापन भएन महेन्द्रनगर। कञ्चनपुरमा पालिकाहरुले करोडौ रकम खर्च गर्दा पनि छाडा पशु चौपायाको यहाँ दिगो व्यवस्थापन हुन सकेको छैन्। छाडा पशु चौपायाहरु राजमार्गमा जथाभावी छाडिदा सडक दुर्घटना हुनुका साथै पालिकालाई अझै व्यवस्थापन चुनौती नै छ। यहाँको बेदकोटदेखि भीमदत्त नगरपालिकासम्म किसानहरुले छाडा पशुका कारण बालीनाली नै नोक्सान पुर्‍याएको भन्दै आक्रोश व्यक्त गरिएपछि पछिल्लो समय जिल्ला समन्वय समितिमा छाडा पशु व्यवस्थापनका लागि सर्वपक्षीय छलफल गरिएको छ। विगत साढे पाँच वर्ष यता भीमदत्त, बेदकोट, शुक्लाफाँटा र कृष्णपुर लगायतका नगरपालिकाले पशु व्यवस्थापनमा करोडौ रकम खर्च गरिसकेका छन्। कञ्चनपुरमा सामुदायिक चौपाया व्यवस्थापन जिम्मेवारी पालिकाका उपाध्यक्ष\उपप्रमुखलाई दिइएको छ । बेदकोट नगरपालिकाका नगरप्रमुख भोजराज बोहराले छाडा पशु चौपाया व्यवस्थापनका लागि वडा स्तरमै काञ्जीहाउस बनाउन लागिएको बताए। “नगरपालिका छेउमै राखेर केही महिनायता छाडापशु अस्थायी रुपमा व्यवस्थापन गरिरहेका छौं”, उनले भने, “ दोस्रो कार्यकालका लागि हामी आइसकेपछि मात्रै छाडापशु व्यवस्थापनमा रु साढे ५ लाख जति खर्च भइसकेको छ।” उनले दशमध्ये आठ वडामा काञ्जीहाउस बनिरहेको बताए। “ काञ्जीहाउस लगायतका व्यवस्थापनमा रु २८\३० लाख जति खर्च हुने अनुमान छ”, उनले भने, “ छाडा पशु व्यवस्थानमा पशुपालक किसानहरु पनि सहयोगी हुनु आवश्यक छ ।” बितेका साढे पाँच वर्ष यता बेदकोट नगरपालिकाको छाडा पशु चौपाया व्यवस्थापनमा रु १ करोड भन्दा बढी खर्च भइसकेको नगरपालिकाले जनाएको छ। भीमदत्त नगरपालिकाले छाडा पशु चौपाया व्यवस्थापनका लागि वडा नं. १३ का वडाध्यक्ष रामबहादुर बोहराको नेतृत्वमा कार्यदल समेत बनाएको थियो। कार्यदलका संयोजक रामबहादुर बोहराले पशु व्यवस्थापनका लागि आवश्यक पर्ने जग्गा खोजी गरेर नगरपालिकालाई प्रतिवेदन बुझाएको बताए। “ हामीले यो यो ठाउँमा खाली जमिन छ । पहलका लागि आवश्यक सुझावसहित प्रतिवेदन बुझाएका छौ”, उनले भने, “आजभोलिमा कहाँ व्यवस्थापन हुने हो टुङ्गो लाग्छ।” भीमदत्त नगरपालिकामा अघिल्लो कार्यकालमा चौपाया व्यवस्थापनका लागि आवश्यक कानुनका साथै भौतिक संरचना समेत निर्माण गरिएको थियो। चौपाया व्यवस्थापनकै क्रममा भीमदत्त नगरपालिकाले छाडापशुमा ट्याग लगाउने कार्य गरेको थियो। हालसम्म भीमदत्तले रु ९१ लाख भन्दा बढी रकम खर्च गरिसकेको छ। त्यसैगरी यहाँको शुक्लाफाँटा नगरपालिकाले यहाँको वडा नं. ९ सिर्सैयाको बिन्द्रावन सामुदायिक वन परिसरमा छाडा पशु चौपाया व्यवस्थान गरिरहेको छ। त्यसको जिम्मेवारी नगरपालिकाबाट वडाअध्यक्ष रमेश ऐरले लिएका छन्। वडाध्यक्ष ऐरले हाल बिन्द्रावन सामुदायिक छाडा पशु व्यवस्थापन केन्द्रमा साढे तीन सय पशु रहेको बताए। “यहाँ ल्याएर व्यवस्थापन गरेपछि शुक्लाफाँटामा हुदै गएको छ”, ऐरले भने, “ गौ सेवक, आहारा लगायतको व्यवस्थापनमा चालु आवमा रु ४० लाख दिएको छ ।” उनले विगत दुई वर्ष यता पशु व्यवस्थापनमा जुटेको बताए। “ अर्गानिक मल उत्पादनदेखि, दुग्ध उत्पादनदेखि छाडा गोरु छाड्नेलाई कारबाही गर्नेसम्मको कार्यविधि बनाएको छ”, उनले भने,“ अरु पालिका भन्दा व्यवस्थापनमा हामी अघि छौं ।” उनले गौशालालाई सुदूरपश्चिमकै अध्ययन केन्द्र बनाउने योजना रहेको बताए। उनले विगत वर्ष यता वार्षिक रु ४० लाख नगरपालिकाले पशु व्यवस्थापनमा खर्च गरिरहेको जानकारी दिए। छाडा पशु व्यवस्थापनमा ठूलो धनराशि खर्च भइसक्दा पनि दिगो व्यवस्थापन नहुँदा बेलाबखतमा स्थानीय किसान आक्रोशित हुदै आएका छन्। कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझाले आफू र छिमेकी लालझाडी पालिकासित मिलेर समेत छाडा पशु व्यवस्थापन गरिरहेको जानकारी दिए। “ हाम्रो पालिकामा पर्ने वनहरादेखि मोहना चोकसम्म राजमार्गमा मुश्किलले अब छाडा पशु देख्नु हुन्छ”, उनले भने, “ यहाँका धेरै ठाउँमा काञ्जी हाउस बनाएर करिब एक हजारदेखि एघार सय चौपायाको व्यवस्थान गरिहेको छ।” उहाँले आफूहरु जनप्रतिनिधी भएर आइसकेपछि चौपाया व्यवस्थापनमा रु दश लाखको हाराहारीमा खर्च भएको बताए। चार वर्षअघि कञ्चनपुरमा छाडा पशु व्यवस्थापनको विषय अदालतसम्म पुगेको थियो। महेन्द्रनगरका अधिवक्ता गजेन्द्रबहादुर रावलले यहाँका पालिकालाई विपक्षी बनाएर उच्च अदालतमा मुद्दा दायर गरेपछि उच्च अदालत महेन्द्रनगर इजलासले चौपाया व्यवस्थापन गर्न परमादेश समेत जारी गरेको थियो।
तस्बिरमा उहिलेको पोखरा गण्डकी। कुनै तस्बिर यस्ता हुन्छन् जसले मानिसलाई पुरानो समयतिर लैजान्छ। जारी पोखरा महोत्सव छिर्नेबित्तिकै दायाँपट्टि त्यस्तै तस्बिरको प्रदर्शनी कक्ष भेटिन्छ। भित्तामा लहरै झुण्डाइएका तस्बिरले उहिलेको पोखरासँग साक्षात्कार गराउँछ। शुक्रबार प्रर्दशनी कक्षमा पुगेकी अस्मि गुरुङका आँखा एउटा तस्बिरमा टक्क अडिए। किशोरावस्थाकी उनी केहीबेर त्यसमै रोकिइन्। जाङ्गे र कमिजमा खाली खुट्टा चौरमा उभिएका बालबालिकाको तस्बिरले गुरुङको ध्यान तान्यो। उबेलाको विद्यालय र बालबालिकाको अवस्था झल्काउने त्यो तस्बिरले मन छोएको उनले सुनाइन्। तस्बिर विसं २०१९ तिरको हो। खरको झुपडीबाट चलेको पोखराको अमरसिँह स्कुलको दृश्यलाई अमेरिकी नागरिक डगलस बिङ्गमले खिचेका थिए। प्रर्दशनीमा ७० वर्षअघिको तालबाराही मन्दिरदेखि पोखरामा पहिलोपटक बस आउँदासम्मका तस्बिर राखिएका छन्। उहिलेको पोखरा कस्तो थियो? संस्कृति, रहनसहन के थिए? मानिसहरु के गर्थे? समाज कस्तो थियो? तस्बिर आफै बोल्छन्। तस्बिरमा उबेलाको फेवा, बेगनास र रुपातालको स्वरुप हेर्दा जोकोहीलाई अनौठो प्रतित हुन्छ। विसं २०२६ मा पोखरा विमानस्थल बन्दा काममा खट्ने श्रमजीवी, विसं २०१९ तिर बाँसको पुलबाट सेती नदी तरिरहेका महिलाहरु, त्यसबेला पोखरामा चल्ने गोरुगाडा आदिका दृश्यले मनलाई उद्धेलित पार्छ। तस्बिरले आजको उन्नत, विकसित र झकिझकाउ पोखराभन्दा दशकौँअघिको पोखरातिर मानिसलाई पुर्‍याउँछ। पोखराकै सुनील उलकले सङ्कलन गरेका तस्बिरलाई प्रर्दशनीमा राखिएको महोत्सव आयोजक यूनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठले बताए।। उनका अनुसार विदेशी र नेपालीले खिचेका तस्बिर प्रदर्शनीमा छन्। “महोत्सवमा आउने दर्शकले तस्बिर प्रर्दशनीलाई पनि चाखपूर्वक अवलोकन गर्छन्, ऐतिहासिक तस्बिर राखिएकाले प्रदर्शनीले महत्व पाएको हो”, उनले भने। अवलोकनकर्ताले प्रदर्शनीमा राखिएका तस्बिरलाई क्यामेरा, मोबाइलमा कैद गर्न भने पाउँदैनन्। तस्बिर सङ्कलक उलकले विदेशीसहित आफ्नो बुबा जगन्नाथले खिचेका तस्बिर प्रर्दशनीमा राखिएको बताए।। जगन्नाथलाई पोखराको पहिलो फोटोग्राफरका रुपमासमेत चिनिन्छ। सन् १९६५ मा पहिलोपटक नेपाल आएका अमेरिकी नागरिक डग हलबाट उनले तस्बिर खिच्न सिकेबा थिए। ‘अमेरिकी पिस कोर भोलिन्टियर’का रुमा हल नेपाल आएका थिए। त्योबेला नेपालका धेरै ठाउँ पुगेर उनले तस्बिर खिचेका थिए। प्रदर्शनीमा राखिएकामध्ये विदेशीले खिचेका तस्बिर रङ्गीन छन् भने नेपालीका श्यामश्वेत। “आजभन्दा ६०÷७० वर्षअघिको पोखराको समाज, भूगोल, संस्कृति र रीतिरिवाजको झल्को तस्बिरहरुमा छ”, उलकले भने, “यी तस्बिर हाम्रा अमूल्य पूँजी हुन्, इतिहासका साक्षी हुन्, यिनले भावी पुस्तालाई पुरानो नेपाल चिनाउँछन्।” प्रर्दशनीमा विख्यात भुभर्गविद् टोनी हेगनले खिचेको तस्बिरसमेत राखिएको छ। “उहिलेको पोखरा झल्काउने ३८ फोटो मात्र प्रदर्शनीमा छन्, धेरै तस्बिर अमेरिकी पिस कोर भोलिन्टियरले खिचेका छन्, केही तस्बिर मेरो बुबाका पनि छन्”, उलकले भने। उलकसँग पोखरासँग सम्बन्धित दस हजार तस्बिर सङ्ग्रहित छन्। शुक्रबारदेखि काठमाडौँस्थित सैनिक मुख्यालयमा चलिरहेको तस्बिर प्रदर्शनीमा पनि आफूले सङ्कलन गरेका सैनिकसँग सम्बन्धित तस्बिर राखिएको उनको भनाइ छ। गत पुस २७ गतेदेखि सुरु भएको एघारौँ संस्करणको पोखरा महोत्सव आउँदो सोमबार सकिँदैछ। महोत्सवमा कृषि, औद्यागिक उत्पादन, सूचना प्रविधिका सामग्रीको प्रदर्शन र बिक्रीकक्ष पनि राखिएको छ। रमाइलो बाल उद्यान, कलाकारको साङ्गीतिक प्रस्तुति, लोकनृत्य, हाँस्यव्यङ्ग्य प्रहसन, घोडा सवारलगायतले मेलामा आकर्षण बढाएको छ। महोत्सवको आम्दानीलाई सेती नदीको संरक्षण, पर्यटन प्रवद्र्धन र न्यून आय भएका परिवारका बालबालिकालाई लक्ष्य गरी आवासीय छात्राबास निर्माणमा लगाइने आयोजकले जनाएको छ। महोत्वमा बिक्री हुने प्रत्येक टिकटबाट रु एक सेती नदी संरक्षणका नाममा छुट्याइने क्लबका अध्यक्ष श्रेष्ठले बताए। महोत्सवमा दुई सय ५८ व्यावसायिक कक्ष छन्। तेह« दिनसम्म चल्ने महोत्सवलाई दुई लाख बढी दर्शकले अवलोकन गर्ने आकलन गरिएको छ।
छन्त्याल सभ्यता र संस्कृतिको दुर्गम गाउँ गुर्जा गलेश्वर। गुजमुज्ज परेका परम्परागत शैलीका घर। मौलिक संस्कृति अनि सोझा, सरल र मिजासिला छन्त्यालको बस्ती भएको म्याग्दीको दुर्गम बस्ती हो गुर्जा। ‘टुप्पीदेखि माथि ठाउँ छैन, गुर्जादेखि माथि गाउँ छैन’ भन्ने उखानबाट परिचित यो छन्त्याल जातिको ठूलो बस्ती हो। छिमेकी बस्तीबाट हत्तपत्त कोही नपुग्ने यो छन्त्याल जीवन, सभ्यता र संस्कृति हेर्ने सानो आँखी झ्याल हो। समुद्र सतहबाट तीन हजार दुई सय २० मिटर उचाइमा अवस्थित यहाँ वर्षमा पाँच महिना हिउँ हुन्छ। हिमपातको समयमा गाउँ मानव सम्बन्धबाट विच्छेद हुन्छ। एक सय ४२ घरपरिवार बसोबास गर्छन् यहाँ। सदरमुकाम बेनी बजारदेखि करिब दुईदिनको यात्रामा पुगिने गुर्जामा जडीबुटी, खानी र पर्यटकीय सम्भावनाका अवसर छन्। तर यसको सदुपयोग हुन सकेको छैन । जीविकोपार्जनको एउटै स्रोत भनेको पशुपालन र जडीबुटी हो। यहाँ बिखला, चिराइतो, सतुवा, जटामसी, कुट्की, वनलसुनलगायतका जडीबुटी र दुर्लभ मानिएको कार्ज स्टोन (सेतो ढुङ्गो) को खानी रहेको धौलागिरि गाउँपालिका १ गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्याल बताउँछन्। यहाँका जडीबुटीको राम्रो माग रहेकाले प्रशस्त आम्दानी गर्न सकिने सम्भावना रहेको उनी बताउँछन्। गुर्जागाउँको प्राकृतिक सुन्दरता, जैविक विविधता, सामाजिक मूल्यमान्यता र पर्यावरणीय शुद्धता पर्यटकका आकर्षण हुन् । वडाध्यक्ष छन्त्यालले भने, “तर आवश्यक प्रचार गरिदिने माध्यम हामीले पाएनौ। नेताहरु चुनावपछि गाउँ विर्सन्छन। यहाँको विकासमा कसैको चासो छैन।” पशुपालन, रातो च्याउ र गोल्डेन स्याउ, टिमुरको व्यावसायिक खेती, पर्यटन र खानी उत्खनन यहाँका बासिन्दाको आयआर्जनको बलियो माध्यम बन्न सक्ने देखिएको छ। भौगोलिक विकटतालाई कारण बनाएर सरोकारवाला निकाय पन्छिने प्रवृत्ति रहेको स्थानीय जसविर विकले बताए। गुर्जाको घुर्मखोला र गुर्जा हिमालको फेदमा पहिचानमा आएको पत्थरको खानी आवश्यक उपकरण अभाव, राज्यको अनुमति नहुनु र स्थानीयको उदासीनताले उत्खनन हुन सकेको छैन। सुन, चाँदीजस्ता बहुमूल्य धातुमा जडान गरी गहना बनाउन प्रयोग हुने यो पत्थरको बजारमा माग छ। गुर्जा गाउँदेखि एक दिनको पैदलयात्रामा पुगिने घुर्मखोला वरपरका पहाडमा रातको समयमा बत्ती बालेझैँ गरी टल्कने यो पत्थर म्याग्दीका लागि भिल्लाका देशमा मणिजस्तै बनेको गुर्जाबाट बेनी आएर बसोबास गरेका डकर्मी डेकबहादुर विकले बताए। पत्थर उत्खननलाई स्थानीयस्तरबाट सम्भव नभएको र राज्यले चासो नदेखाएकाले अलपत्र परेको धौलागिरि गाउँपालिका–१ गुर्जाका वडअध्यक्ष झकप्रसाद छन्त्याल बताउँछन्। गुर्जावासी गाई, भैँसी, भेँडापालन गरी मकै, आलु र जौ उत्पादनबाट छ महिना जीविकोपार्जन गर्छन्। बाँकी समय बेसहाराको भरमा जीवन गुजारा गर्नुपर्ने बाध्यतामा छन्। एक माध्यमिक विद्यालय, स्वास्थ्यचौकी, लघुजलविद्युत्को उज्यालो तथा डाटासहितको मोबाइल फोन र डिसहोमबाट सञ्चार प्रविधि भने गुर्जा उक्लेको वडाध्यक्ष छन्त्यालले बताए। विचित्रका हिमाली र पहाडी धरातल, वनस्पति र सामाजिक संस्कृतिले भरिपूर्ण गुर्जा गाउँमा अझै पनि प्राचीन समाजका अवशेष भेट्न पाइन्छ। जहाँ जे बाली पाक्छ, त्यहीँ नै बसोबास सार्ने परम्परा गुर्जा गाउँमा अझै छ। गुर्जा गाउँ पछिल्लो समय पर्यटन र जडीबुटीका कारण देश विदेशमा परिचित हुन थालेको छ। यहाँ यार्सागुम्बा, रातो च्याउ, सतुवा र जडीबुटी मात्रै होइन गत वर्षदेखि इटालियन गोल्डेन स्याउको व्यावसायिक खेतीसमेत सुरु गरिएकाले अहिले गुर्जाको परिचय फेरिएको छ। देशभित्र र विदेशमा गुर्जालाई ‘हर्बल हब’ भन्न थालिएको वडाध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिए। जिल्लास्थित कृषि ज्ञान केन्द्रको ५० प्रतिशत र धौलागिरि गाउँपालिकाको ७५ प्रतिशत अनुदानमा यहाँका २५ किसानले उक्त स्याउको ८०० बेर्ना लगाएका थिए। गुर्जामा सुरु गरिएको स्याउको व्यावसायिक खेती जिल्लाकै पहिलो हो। राम्रो फल नदिएपछि गुर्जावासीले पुरानो स्याउको बगैँचालाई मासेर विदेशबाट आयातित हाइब्रिड जातको स्याउ लगाएका हुन्। गुर्जा गाउँबाट ढोरपाटन, गुर्जा, पुथा र चुरेन हिमालको आधारि शिविरको एउटै पदमार्गबाट रुकुम निक्लने यार्सा पदमार्ग पर्दछ । शिविरबाटै डोल्पा, गुर्जाबाट धौलागिरि आधार शिविरसम्मपुग्न सकिने भएकाले ‘एडभेन्चर ट्रेल हब’ का रुपमा पनि परिचित हुन थालेको वडाध्यक्ष छन्त्यालले जानकारी दिए। ध्रुवसागर शर्मा\रासस
असारदेखि पाएनन् जुनीचाँदेका सुत्केरी महिलाले भत्ता सुर्खेत। गत साउनमा जाजकोट जुनीचाँदे गाउँपालिका ५ की मनिषा गिरी सुत्केरी भइन्। प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटमा शिशुलाई जन्म दिइन्। स्वास्थ्य अवस्था सामान्य भएपछि घर फर्किइन्। स्वास्थ्य संस्थाले उनलाई सुत्केरी र गर्भवती जाँच तथा पोषण रकम गरेवापत भत्ता नदिएरै विदा गर्‍यो। भत्ता लिनका लागि उनी तीन पटक स्वास्थ्य केन्द्रमा पुगिन्। तर गाउँपालिकाबाट भत्ता नआएको भन्दै रित्तो हात फर्किन बाध्य भइन्। उनले अहिलेसम्म पनि सुत्केरी भत्ता पाएकी छैनन् । पुस २२ गते जुनीचाँदे गाउँपालिका ४ कि विमला बिष्टपनि प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोट सुत्केरी भइन्। उनले पनि सुत्केरी र पोषण भत्ता पाइनन्। स्वास्थ्य केन्द्रले उनलाई पनि गाउँपालिकाले भत्ता नपठाएको भन्दै रित्तै फर्काइदियो। मनिषा र विमला मात्रै होइन्। गत असारदेखि जुनीचाँदेका कुनैपनि सुत्केरीले भत्ता पाउन सकेका छैनन्। सरकारले स्वास्थ्य संस्थामा सुत्केरी भएका हरेक आमाले दुई हजार प्रोत्साहन भत्ता, दुई हजार पोषण भत्ता र आठ पटकसम्म गर्भ चेकजाँच गराएमा प्रतिपटक एक सयका दरले आठ सय भत्ता पाउने व्यस्था छ। कुल चार हजार आठ सय रुपैयाँ सुत्केरी भएकै समयमा दिनुपर्ने व्यवस्था छ। तर जुनीचाँदेका आमाहरूले भने असारदेखि सुत्केरी भत्ता पाउन सकेका छैनन्। गाउँपालिकाले समयमै रकम निकासा नगर्दा सुत्केरीले भत्ता पाउन नसकेका हुन्। आर्थिक विपन्नता र अभावमा गुज्रिएका आमाहरूलाई सुत्केरी अवस्थामा पोषिलो खानका लागि सहयोग मिलोस् भन्ने उद्देश्यले सरकारले सुत्केरी र पोषण भत्ता दिँदै आएको छ। तर जुनीचाँदे गाउँपालिकाका ९८ जना सुत्केरीले भने समयै सुत्केरी भत्ता पाउन सकेका छैनन्। सुत्केरी भत्ता नपाएपछि विपन्न वर्गका आमाहरूले पोषिलो खानेकुरा खान पाएका छैनन्। सुत्केरी भत्तासँगै सरकारले गर्भवतीको सुरक्षाका लागि स्वास्थ्य संस्थामा नियमित गर्भ चेकजाँच गरेवापत भत्ता दिने व्यवस्था गरेको छ। राज्यबाट गर्भवतीलाई प्रसुती गृहमा सुरक्षित सुत्केरी गराउन प्रोत्साहनस्वरुप विभिन्न भत्ताको व्यवस्था गरेको हो। तर जनताको घरआँगनको सरकारको ढिलासुस्तीका कारण जुनीचाँदेका आमाहरूले समयमै सुत्केरी भत्ता पाउन नसक्ने वातावरण बनेको छ। सुत्केरी भएको सयममा पोषणयुक्त खानाका लागि भत्ता दिने नीति लिएको गाउँपालिकाले निर्धारित कार्यक्रम अनुसारको सुत्केरी र पोषण भत्ता वितरण गर्न सकेको छैन। सुत्केरी भएको समयमा भत्ता नपाएपछि पटक-पटक स्वास्थ्य संस्था जान बाध्य भएका छन्। ‘अहिलेसम्म त आइपुग्यो होला भनेर स्वास्थ्य चौकीमा जान्छौँ तर जहिले गएपनि भत्ता नआएको भन्दै फर्कादिन्छन्’ जुनीचाँदे ५ शन्तोसी गिरीले भनिन्, ‘घरआँगनको सरकार भएर के गर्नु गाउँपालिकाले हाम्रो पीडा बुझेन् ।’ असारमै सबै कागजात पेश गर्दापनि अहिलेसम्म भत्ता नपाएको सुत्केरीहरूको गुनासो छ। समयमै सुत्केरी भत्ता नआएका आमाहरूले फिल्ड गएका स्वास्थ्यकर्मीसँग पनि भत्ताको विषयमा सोधिखोजी गर्ने गरेका छन् । कतिपयले पटक-पटक फोन गरेर भत्ताका लागि बुझ्ने गरेको स्वास्थ्यकर्मीहरू बताउँछन्। रकम निकासामा भएको ढिलाइका कारण समयमै सुत्केरी भत्ता वितरण गर्न नसकेको जुनीचाँदे गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । चालु २०७९/८० मा कसैलाई पनि सुत्केरी तथा पोषण दिन नसकेको स्वास्थ्य शाखा प्रमुख प्रेमबहादुर शाहीले बताए । भत्ताका लागि पालिकामा ९८ जना आमाहरूको फाइल आइपुगेका छन् । कार्यालयमा आएका कागजात जाँचबुझ गरेर तत्काल रकम निकाशा लागि प्रक्रिया अगाडी बढाएको शाहीले बताए ।
दुर्घटनामा यादवको मृत्यु सप्तरी। पूर्व-पश्चिम हुलाकी सडकखण्ड अन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिका १२ डेडेवा पोखरीमा बिहीबार राति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बिष्णुपुर गाउँपालिका वडा नम्बर ७ बिष्णुपुर टोल बस्ने किशोरी प्रसाद यादवको छोरा अन्दाजी बर्ष ४७ को मात्रिका प्रसाद यादव रहेका छन्। प्रदेश नं.२-०१-००२ प ५०५२ नम्बरको मोटरसाइकल अचानक दुर्घटना भई बाटोको उत्तर पट्टि साईडमा मोटरसाइकल चालक यादव फेला परेको प्रहरीले जनाएको छ। राती ९ बजे भेटिएका उनलाई तत्कालै उपचारको लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल लगिएपछि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। मृतकको पोष्ट मार्टम गरि शव परिवारलाई बुझाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी नरेश कुमार सिंहले जानकारी दिए।
तीन महिलाको हत्या प्रकरणः दोषी पत्ता लगाउन गृह मन्त्रालयलाई पत्राचार खोटाङ। राष्ट्रिय महिला आयोगले खोटाङका तीन महिलाको विभत्स हत्यामा संलग्न दोषी पत्ता लगाउनका लागि गृह-मन्त्रालयलाई पत्राचार गरेको छ। आयोगले जन्तेढुंगा गाउँपालिका-६ दिप्लुङ सोभेकी ३७ वर्षीय देबी बिक, खोटेहाङ गाउँपालिका-९ लिच्कीराम्चेकी १७ वर्षीय रिता तामाङ र हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थानकी ५७ वर्षीय ज्ञानीमायाँ बिश्वकर्माको विभिन्न मितिमा हत्या गर्नमा संलग्न दोषी पत्ता लगाउनका लागि मन्त्रालयलाई पत्रमार्फत अनुरोध गरेको हो। तीन महिलाको हत्या भएको पाँच वर्ष बित्दा समेत दोषी गुमनाम भएको पाइएकाले दोषी पत्ता लगाउन गृह मन्त्रालयलाई पत्राचार गरिएको राष्ट्रिय महिला आयोगका कार्यबाहक अध्यक्ष कृष्णकुमारी पौडेल खतिवडाले बताईन् । पत्रमा घटनाको सम्वन्धमा यथाशिघ्र छानविन समिति गठन गर्न लगाएर दोषी पत्ता लगाउन भनिएको छ । जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालयस्थित माईती पुगेर २०७४ साउन ४ गते घर फर्कनेक्रममा सम्पर्क विहिन बनेकी देबी दोश्रो दिन २०७४ साउन ५ गते जन्तेढुंगा गाउँपालिका–३ काहुलेको छिमावास्थित नेप्टे जंगलमा विभत्स हत्या गरिएको अवस्थामा फेला परेकी थिइन् । यस्तै, रिता २०७३ माघ २६ गते र ज्ञानीमायाँ २०७४ जेठ १६ गते विभत्स अवस्थामा मृत फेला परेकी थिईन्। तीन महिलाको विभत्स हत्याको घटनालाई गुपचुप राखी नियतवस नै छानविन र अनुसन्धान समेत नगरेको दावी गर्दै राष्ट्रिय महिला आयोगले सो सम्वन्धमा यथाशिघ्र छानविन समिति गठन गर्न लगाएर दोषी पत्ता लगाउन पहल गर्न अनुरोध गरिएको जनाएको छ । गत पुस २७ गते राष्ट्रिय महिला आयोग र राष्ट्रिय मानव अधिकार आयोगले खोटाङमा संयुक्त रुपमा आयोजना गरेको सिड सम्वन्धी छलफल कार्यक्रममा सहभागी हुने क्रममा आयोगका कार्यबाहक अध्यक्ष पौडेल खतिवडा र प्रमुख महिला विकास अधिकृत सीता अधिकारीले तीन महिलाको हत्यामा संलग्न दोषी पत्ता नलागेको विषयमा जानकारी पाएकी थिईन् । कार्यक्रममा सहभागीले महिलाको हत्यारामा पत्ता नलागेको विषयमा आवाज उठाएपछि कार्यबाहक अध्यक्ष पौडेल खतिवडाले ‘खोटाङमा तीन जना निर्मला पन्त’ मारिएको जानकारी मिलेको भन्दै दोषी पत्ता लगाउन गृह मन्त्रालयलाई पत्र पठाउने प्रतिवद्धता जनाएकी थिईन् । आयोगकी उप–सचिव चमिला भट्टराईले लेखेको पत्र जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय खोटाङलाई बोधार्थ पठाइएको छ ।
गण्डकी विश्वविद्यालयले मुख्यमन्त्रीलाई बुझायो वार्षिक प्रतिवेदन कास्की । गण्डकी विश्वविद्यालयले प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई आज वार्षिक प्रतिवेदन पेस गरेको छ । विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङले मुख्यमन्त्री अधिकारीलाई उक्त प्रतिवेदन पेस गरेका थिए । उक्त अवसरमा मुख्यमन्त्री अधिकारीले प्रदेश सरकार सधैँ विश्वविद्यालयको हितमा रहने बताए । उनले भने, “प्रतिवेदनमा भएका सबै कुरा हेरेर के गर्ने कसरी अगाडि बढ्ने भनेर भनौंला ।” उनले जुन भावना र मर्मअनुसार विश्वविद्यालय स्थापना भएको हो त्यसैगरी काम गरेर नतिजा देखाउन आग्रह गरे । कुलपति प्राडा गणेशमान गुरुङले विश्वविद्यालय अन्तर्गतको पठनपाठन, अनुसन्धान, अन्वेषण, अविष्कार केन्द्र, जग्गा, भवनलगायत भौतिक अवस्थाका बारेमा मुख्यमन्त्री अधिकारीलाई बुझाएको बताए । उनले नेपालमै पहिलो पटक स्पोर्ट्स म्यानेज्मेन्टको पढाइ सुरु गरेको भन्दै विद्यार्थीको राम्रो आकर्षण रहेको जानकारी गराएका थिए । स्पोर्ट्स म्यानेज्मेन्टसँगै विश्वविद्यालयले व्याचलर इन फार्मेसी, व्याचलर इन आइटी, बिएएलबी र बिबिएको कक्षा पनि सुरु गरेको छ । अविष्कार केन्द्रबाट उत्पादन गर्न लागेका सामानको बारेमा पनि जानकारी गराएको उनले बताए । पढाइ, अनुसन्धान र अविष्कारमा जोड दिएको विश्वविद्यालयले अुनसन्धानतर्फ कोदो रक्सीको ब्रान्डिङको काम गरिरहेको छ । कार्यक्रममा कुलपति गुरुङसँगै उपकुलपति प्राडा नवराज देवकोटा, रजिस्ट्रार डा कैलाश तिमिल्सिना, डिन डा। कपिल अधिकारी, योजना प्रमुख सन्दिप कोइराला, अधिकृत ईश्वर सुवेदी उपस्थित थिए ।
पर्यटनमन्त्रीद्वारा थप हवाई रुट उपलब्ध गराउन भारतलाई अनुरोध काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाललाई थप हवाई प्रवेश (रूट) मार्ग उपलब्ध गराउन भारतसँग अनुरोध गरेका छन् । सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा आज नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले गरेको भेटवार्ताका क्रममा मन्त्री किराँतीले सिमरामा रहेको नेपालको एक मात्र हवाई मार्गको अधिक चाप बढेको भन्दै थप हवाई प्रवेश मार्गका लागि अनुरोध गरेको उनको निजी सचिवालयले जनाएको छ । जवाफमा राजदूत श्रीवास्तवले नेपाली जनता र नेपालको हितमा भारत सधैँ सकारात्मक रहेको प्रतिक्रिय दिए । नेपालमा अहिले अन्तर्राष्ट्रिय उडानका विमान सिमरा बिन्दुबाट मात्र नेपाल प्रवेश गर्न पाउछन् । नेपालले लामो समयदेखि भैरहवा, नेपालगञ्ज र महेन्द्रनगरबाट विमान प्रवेश गर्न सक्ने गरी रुट माग गर्दै आएको छ ।
ठोरी गाउँपालिकामा तीन दिन सार्वजनिक बिदा पर्सा । पर्साको ठोरी गाउँपालिकाले सोनाम ल्होछारको अवसरमा ३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । पालिकाले तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होसारको अवसरमा माघ ७ गतेदेखि ९ गतेसम्म बिदा दिने निर्णय गरेको हो । तामाङ समुदायले लिखित रूपमै बिदाको माग गरेकोले तीन दिनसम्म बिदा दिने निर्णय भएको ठोरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णलाल श्रेष्ठले जानकारी दिए ।
नेपाल राष्ट्रिय कर्मचारी संगठन अछामको जिल्ला कार्य समिति गठन काठमाडौं । नेपाल राष्ट्रिय कर्मचारी संगठनको अछाम जिल्ला कार्य समिति गठन भएको छ । पाँचौं जिल्ला अधिवेशनबाट झपटबहादुर थापाको अध्यक्षतामा नयाँ कार्य समिति गठन भएको हो । समितिको उपाध्यक्षमा दिलाकुमारी साउद, तपेन्द्र साउद र दीपक पाण्डे निर्वाचित भएका छन् । यस्तै सचिवमा धुर्व विक, सहसचिवमा रमेश न्यौपाने, कोषाध्यक्षमा जौला धामी निर्वाचित भएका छन् । सदस्यहरूमा भूपेन्द्र बुढा, शंकर थापा, होम साउँद, नरेन्द्र बुढा, भरत शाही, नरेन्द्र वोहरा, दिल्ली रावल र कालु विक निर्वाचित भएका छन् । समितिका निवर्तमान उपाध्यक्ष हर्कबहादुर शाहीको अध्यतामा नयाँ कार्य समिति गठन भएको हो । कार्यक्रमका प्रमुख अथिति नेकपा माओवादी केन्द्रकी प्रदेश कमिटी सदस्य तथा अछाम जिल्ला सह(इन्चार्ज सरस्वती रावल रहेकी थिइन् । कार्यक्रममा १ सय २५ जना कर्मचारीको उपस्थिति रहेको थियो ।
पूर्वाधार विस्तार गर्दै जाजरकोट अस्पताल जाजरकोट । तीनवटा मुख्य सडकको बीचमा रहेको जाजरकोट अस्पताल भौतिक संरचनाका हिसाबले समेत मजबुत बन्दै गएको छ । कर्णाली प्रदेशका दुईवटा ५० शय्याको अस्पतालमध्ये एक जाजरकोट अस्पताल पर्दछ । दुर्गम तथा पछाडि परेका जिल्लालाई स्वास्थ्य सेवाको भरपर्दो पहुँचमा ल्याउनका लागि सरकारले विगत एक दशकदेखि गरेको पहलस्वरुप उक्त अस्पतालको मुहार बदलिन लागेको हो । जीर्ण तथा चुहिने १५ शय्याको अस्पतालबाट सेवा प्रवाह हुँदै आएको अस्पताल अहिले ५० शय्यामा विस्तार भएको छ । चार वटा अत्याधुनिक भवन विगत दुई वर्षअघिदेखि निर्माण सुरु गरिएकामा अबको दुई महिनाभित्र सबै काम पूरा गर्न निर्माण कम्पनी सक्रिय भएर लागेको छ । चिकित्सकको आवासदेखि सेवा प्रवाहका लागि भवन अभाव रहेको भन्दै समय, समयमा विवाद हुँदै आएको अस्पतालमा अब दरबन्दीअनुसारको स्वास्थ्यकर्मी परिचालन गरी सबै खालको सेवा दिनसके कर्णाली प्रदेशकै दोस्रो अस्पतालको रूपमा विकास हुने अपेक्षा गरिएको छ । रुकुम पश्चिम, जाजरकोट, डोल्पा र सल्यानको बीचमा रहेको यो अस्पताल सबैको भरोसा बटुल्न सेवा प्रवाहलाई प्रभावकारीे बनाउनु पर्छ। मध्यपहाडी लोकमार्ग, लुम्बिनी–रारा र भेरी करिडोरको बीचमा रहेको रहेको यो अस्पताल बिरामीको चाप हुने मध्येमा पर्दछ । अक्सिजन प्लान्टदेखि शल्यक्रिया सेवासमेत प्रदान गर्दै आएको अस्पताल अझै सेवा प्रवाहमा अब्बल हुनसके सबैको भरोसा बटुल्ने कुरामा दुई मत नरहेको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले बताए । उनले भने, “सेवा दिने र लिने दुवै सन्तुष्ट भएमा मात्र अस्पतालको भरोसा बढ्छ । संरचनाको विकास भएर मात्र हुँदैन । अब सेवा प्रवाहको पाटोसमेत मजबुत हुनुपर्छ । यसमा सबैको रचनात्मक सहयोग हुनुपर्छ ।” कर्णाली प्रदेश सरकारको मातहतमा रहेको यो अस्पताललाई सङ्घीय सरकारको मातहतमा राख्नुपर्ने मागसमेत उठ्दै आएको छ । तीन जिल्लाको बीचमा रहेका कारण सबै खालका सेवा प्रवाह गर्नुपर्ने भएकाले यसलाई सङ्घ सरकारमार्फत राखेर काम गर्नसके राम्रो हुनेमा सरोकारवालाको भनाइ थियो । अस्पताल जाने सडक, खानेपानी र विद्युत् सेवालाई भरपर्दो बनाउन सके यहाँ सेवा लिन आएका आमनागरिकलाई थप सन्तुष्ट बनाउन सकिने जुनिचाँदे–४ का रेशमबहादुर खड्काले बताए । चौँसठ्ठी स्वास्थ्यकर्मीको दरबन्दी रहेको उक्त अस्पतालमा अहिले सबै दरबन्दीमा स्वास्थ्यकर्मी कार्यरत नरहेको पाइएको छ । स्वास्थ्यकर्मी र कर्मचारीको सेवा, सुविधालाई व्यापक हेरफेर गरी काम गर्नसक्ने वातावरण निर्माण गर्नसमेत सुझाइएको छ । अस्पताल विकास समितिको नाममा भर्ती भएका अधिकांश कर्मचारी राजनीतिक दलको कार्यकर्ता बन्दा सेवा प्रवाहमा सधैँ अवरोध हुने गरेको अस्पताल प्रशासनले बताउँदै आएको छ । टे«ड युनियानको नाममा अस्पतालमा काम नगरी तलब, भत्ता बुझ्ने अवस्था अन्त्य गर्न नसकेको गुनासो पनि बढ्दै गएको छ । अहिले अस्पताल र स्वास्थ्य सेवा कार्यालय एकै ठाउँमा हुँदा काम गर्न मुस्किल हुँदै गएको बताइछ । पचास शय्याको अस्पताल आर्थिकरुपमा समेत मजबुत हुनुपर्ने भए पनि अहिले प्रदेश सरकारले पठाएको बजेट पनि अपुग हुँदै आएको छ । पन्ध्र शय्याको अस्पतालमा ५० शय्याको बनाउन आवश्यक दरबन्दी स्वीकृत गरेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले सोही बमोजिम बजेट उपलब्ध गराउनुपर्ने माग गरिएको छ । दुर्गममा काम गर्ने कर्मचारीलाई समेत समयअनुसार सेवा र सुविधा बढाउनुपर्ने बाध्यता छ । अहिले स्वास्थ्यकर्मीले तोकिएको समयभन्दा बढी काम गरेबापत पाउने रकमसमेत दिन स्वास्थ्य सेवा कार्यालयलाई कठिन हुँदै आएको छ। आफूसँग भएको स्रोत र साधनबाट सबैका चाहना पूरा गर्ने उद्देश्यका साथ कामलाई तीव्रता दिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख नवराज कँडेलले बताए । अहिल उक्त अस्पतालमा निर्माण कार्य अन्तिम चरणमा पुगेको अस्पताल र अक्सिजन प्लान्टसमेत सङ्घ सरकारले नै उपलब्ध गराएको छ । जिल्लाको स्वास्थ्य सेवालाई भरपर्दो बनाउन सबैखालका काम गर्ने र सेवा थप्ने काम जारी रहेको प्रतिनिधिसभा सदस्य शक्तिबहादुर बस्नेतले बताए । दुर्गमका अस्पतालमा लगानी बढाउनुपर्ने कुरामा सधँै मन्त्रालय सकारात्मक रहेको सामाजिक विकास मन्त्रालयका सचिव शन्तबहादुर सुनारले बताए ।
कैलालीमा कोटाको धान पाउनै मुस्किल धनगढी। सरकारले कैलालीबाट हालसम्म ३० हजार क्वीन्टल धान खरिद गरेको छ। कैलालीका लागि ४० हजार क्वीन्टल धान खरिद गर्ने कोटा निर्धारण गरिएको भए पनि धान खरिद गर्ने अनुमति पाएको खाद्य व्यवस्था कम्पनीले बिहीबारसम्म ३० हजार क्वीन्टल धान मात्र खरिद भएको जनाएको छ। कैलालीको मोहनपुर, टीकापुर र भजनीबाट धान खरिद सुरु गरिएको भए पनि सोचेअनुसारको धान भने नआएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका कर्मचारीको भनाइ छ। ‘यसपटक एक दुई सातामै कोटाको धान आउँछ होला भन्ने अनुमान गरिएको थियो,’ धनगढीस्थित मोहनपुर धान खरिद केन्द्रका कर्मचारीले भने, ‘तर सोचेभन्दा धेरै कम मात्रै धान आएको छ, यसको कारण केहो बुझ्न सकिएको छैन।’ विगतका वर्षहरुमा धान खरिद सुरु भएपछि खरिद केन्द्रमा किसानको लाइन हुने गरेको भए पनि यसपटक भने किसानले लाइन बस्नु नपरेको ती कर्मचारीले बताए। ‘सुरुका एक दुई दिन धान ल्याउने किसानको अली चाप रहेको थियो,’ उनले भने, ‘त्यसपछि फाटफुट मात्रामा मात्रै धान आउने गरेको छ । पछिल्लो समयत दिनमा एक दुई जना किसान मात्रै आउने गरेका छन्।’ सरकारले ढिलाेगरी धान खरिद गरेका कारण यसपटक सोचेअनुसार धान नआएको हुन सक्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रदेश कार्यालय धनगढीकी प्रमुख इन्जिला बस्नेतले बताइन्। तर, बिक्रीका लागि आउने क्रम भने नरोकिएको उनले बताइन्। ‘टीकापुरमा गोदाम अभावका कारण धान खरिद गर्न रोकेका छौं,’ उनले भनिन्, ‘त्यहाँ केही किसान अझै हामीसँग सम्पर्कमा छन्, धनगढीमा फाटफुट धान आइरहेको छ, त्यसैले कोटाअनुसार धान आउनेमा आशावादी छौं।’ यसपटक धान खरिद प्रक्रिया अली ढिलो सुरु भएका कारण पनि प्रयाप्त धान नआएको अनुमान गरिएको उनले बताइन्। ‘मंसिरको सुरुमै प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन भएका कारण कात्तिकदेखि नै चुनावको तयारीमा सरकारी निकाय जुट्नुपर्ने भयो,’ उनले भनिन्, ‘जसका कारण धान खरिदमा केही ढिलाइ भएको हो।’ टीकापुरको गोदाममा रहेको धान पिसानीका लागि बोलपत्र आह्वान भइसकेको उनले बताइन्। ‘धान पिसानीका लागि बिहीबार १५ दिने सूचना निकालेका छौं,’ उनले भनिन्, ‘पिसानको ठेक्का लागेपछि टीकापुरको गोदाम खालि हुनेछ, त्यसपछि पुनः टीकापुरबाट पनि धान खरिद सुरु गरिनेछ।’ यस वर्ष सरकारले ढिलो गरी धान खरिद प्रक्रियाअघि बढाउँदा किसानले व्यापारीलाई सस्तोमा धान बेचेका थिए। जसकारण अहिले खाद्य संस्थानलाई कोटाको धान पाउन पनि समस्या भइरहेको छ। ‘गहुँका लागि आवश्यक पर्ने मल खाद, बिउ तथा चाडवाडमा खर्चको जोहो गर्न किसानले कात्तिकमै धान बेच्नु पर्ने हुन्छ,’ धनगढी–१३ का किसान शिवचरण रानाले भने, ‘त्यतिबेला सरकारले कुनै निर्णय गरेन, जब हामीले सस्तो मूल्यमा व्यापारीलाई धान बेचिसक्छौं, अनि मात्रै धान खरिद सुरु भयो, सरकारले ढिलो गरी धान खरिद गर्दा त्यसले किसानलाई नभई व्यापारीलाई फाइदा हुन्छ।’ कात्तिकमा व्यापारीले किसानबाट सस्तोमा धान किनेर त्यही धान सरकारलाई महंगोमा बेच्ने गरेको उनको भनाइ छ। ‘किसानले व्यापारीलाई बढीमा २० रुपैंयामा धान बेचेका छन्,’ उनले भने, ‘किसानबाट सस्तोमा खरिद गरेको धान व्यापारीले २९ रुपैंयामा सरकारलाई बेच्दछ, व्यापारीलाई फाइदा पुग्ने गरी सरकारले नै ढिलो धान खरिद गर्ने गरेको छ।’ सरकारले कात्तिक १६ गतेको मोटा धानको न्युनतम मूल्य २ हजार ९६७ र मध्यम धानको मूल्य ३ हजार १२८ कायम गरेको थियो । कात्तिकमा मूल्य निर्धारण गरे पनि सरकारले धान खरिद भने मंसिर २७ गते बाट मात्रै सुरु भएको थियो। ‘सरकारले पुसबाट मात्रै धान गरिद गर्न सुरु गर्‍यो,’ धनगढी–३ का रामदाश रानाले भने, ‘त्यतिसम्म अधिकांश किसानले धान बेचिसकेका थिए, अहिले सरकारले किसानको नभई व्यापारीको धान खरिद गरिरहेको छ।’ ‘दुई वर्षअघि मोटो धानको मूल्य २७ रुपैंया निर्धारण गरेको थियो,’ उनले भने, ‘त्यतिबेला व्यवपारीले पनि राम्रै मूल्य दिएका थिए, गत वर्ष बर्षाले भिजेको भन्दै सरकारले धाननै खरिद नगर्दा व्यापारीलाई सस्तोमा धान बेच्याैँ, यस वर्ष सरकारले समयमा खरिद सुरु नगर्दा व्यापारीलाई नै सस्तोमा बेच्नु पर्‍यो।’ धान बेचेर हिउँदे बाली लगाउन खर्चको जोहो गर्नुपर्ने भएका कारण व्यवपारीलाई सस्तोमा धान बेच्नुपरेको उनले बताए। उनका अनुसार व्यापारीले किसानबाट बढीमा २० रुपैंयामा धान खरिद गरेका थिए। ‘धान बेचेर आएको पैसाबाट खेत जोत्ने र मलखाद किन्नु पर्दछ,’ कैलालीको भजनी नगरपालिका–८ लालबोझिका किसान दिनेश डगौराले भने, ‘खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान खरिद गर्ला भनेर कुरेर बसिरहँदा गहुँ छर्न ढिलो हुने भएपछि यहाँका किसान सस्तोमा धान बेचेर हिउँदे लगाएका हुन्।’ खाद्य व्यवस्था तथा व्यापार कम्पनीले २०७७ मा धानको समर्थन मूल्य मोटो धान प्रतिक्वीन्टल २ हजार ७३५ र मध्यम धानको मूल्य प्रतिक्वीन्टल २ हजार ८८५ तोकेको थियो। सो वर्ष कैलालीमा ६१ हजार मेट्रिकटन धान संस्थानले खरिद गरेको थियो। गत वर्ष मोटो धानको मूल्य २ हजार ७५० र मसिनो धानको मूल्य २ हजार ८०० निर्धारण गरिएकामा कात्तिकमा आएको बाढीका कारण धान बिग्रेको भन्दै खाद्य तथा व्यापार कम्पनीले धान खरिद नै गरेन। २०७७ मा कैलालीका ४ वटा स्थान (धनगढी, टीकापुर, जोशीपुर र भजनी) बाट खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान खरिद गरेको थियो।
बर्दिबास अस्पताल : सेवा विस्तारले जगायो उपचार पाउने आश महाेत्तरी। सरकारी स्वास्थ्य संस्थाको सेवाप्रति आमरूपमा निराशा बढेकै बेला महोत्तरीको बर्दिबास अस्पतालप्रति भने सर्वसाधारणको भरोसा बढ्न थालेको छ। बर्दिबास-२ बुद्धचोकस्थित बर्दिबास अस्पतालले एकपछि अर्को गर्दै २६ वटा सेवालाई नियमित गरेपछि गुणस्तरीय उपचार सेवा पाउने आश बढेको हो। बर्दिबास अस्पतालले बुधबारमात्रै विज्ञ चिकित्सक र अत्याधुनिक उपकरणसहितको सेवा थपेको छ। अस्पतालले जनरल ओपिडी सेवा, इमर्जेन्सी सेवा र प्रसूति तथा महिला रोग सेवा दिँदै आएको थियो। यी सेवामा जनशक्ति अभावले उपचार प्रभावित हुँदै आएको थियो । अब बर्दिबास नगरपालिकाले दक्ष जनशक्ति थप गर्दै हाडजोर्नी तथा नसा रोग, शल्यक्रिया, नवजात शिशु स्याहार, दाँत, मुख तथा गिँजासम्बन्धी समस्या, ल्याब, एक्सरे, भिडियो एक्सरे, इसिजी, फार्मेसी, स्वास्थ्य बीमासहितको सेवा विस्तार गरेको छ। अस्पतालले ज्येष्ठ नागरिक स्याहार केन्द्र, एकीकृत हिंसा व्यवस्थापन, सामाजिक सुरक्षा, परिवार नियोजन, सुरक्षित गर्भपतन, किशोर-किशोरी, क्षयरोग उपचार, परामर्श तथा प्रेषण, सम्पूर्ण शरीरको जाँचसहितका सुविधा बढाएर नियमित गर्न लागेको छ। “अस्पतालका सेवा गुणस्तरीय र नियमित बनाउने भएपछि आफ्नै ठाउँमा उपचार गर्न सहज हुने आश जगाएको छ”, बुद्धचोकका उमेश आचार्य भन्छन्। बर्दिबास नगरपालिका, अस्पताल व्यवस्थापन समिति र समुदायको राम्रो साथ रहेकाले प्रभावकारी स्वास्थ्य सेवा प्रवाह गर्न सहज हुने अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा कृष्णा महर्जन बताउँछन्। अस्पतालले अत्यावश्यक सेवा थपेर सोअनुसारको भौतिक र दक्ष जनशक्तिको व्यवस्थापन गरेपछि यस भेगमा सर्वसुलभ उपचार सेवा पाउने आश बढेको छ। “साना–तिना स्वास्थ्य समस्यामा पनि पैसाकै अभावले उपचार गराउन नसकिने अवस्था अब रहने छैन”, बर्दिबास–२ की पवित्रा खड्का भन्छिन्, “सुत्केरी हुने, गराउने बेला महँगा निजी अस्पतालमा पुग्नु नपरे पनि ठूलो राहत हुनेछ।” अस्पतालले घोषणा गरेर प्रारम्भ गरेको सेवाले यो ठाउँ अब बर्दिबास नगर क्षेत्रमात्र नभएर छिमेकका भङ्गाहा, औरही र गौशाला नगर क्षेत्रसँगै छिमेकी जिल्ला धनुषाका मिथिला, सर्लाहीका ईश्वरपुर एवं लालबन्दी एवं सिन्धुलीका कमलामाई तथा दुधौली नगरपालिकासम्मका सेवाग्राहीका लागि भरपर्दो उपचार केन्द्र बन्ने विश्वास गरिएको छ। धनुषाको मिथिला, सर्लाहीका ईश्वरपुर र लालबन्दी तथा सिन्धुलीका कमलामाई र दुधौली बर्दिबास नगरपालिकासँग जोडिएका नगरपालिका हुन्। बर्दिबास नगरपालिकाले सेवासँगै अस्पतालको भौतिक संरचना पनि बढाउँदै लगेको छ। अस्पताल भवनमा यसअघि ५२ कोठा थिए। अब सेवा विस्तारसँगै कोठा थप्न थालेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जयनारायण शर्मा बताउँछन्। पचास शय्याको अस्पतालमा अहिले चिकित्सक, स्वास्थ्यकर्मी, प्रशासनिक कर्मचारी र परिचारिकासमेत गरी ८३ जना कार्यरत छन्। रासस
कर्णालीमा दलित समुदायका लागि पर्याप्त बजेट, कार्यान्वयन न्यून सुर्खेत। कर्णाली प्रदेश सरकारले दलित समुदायका लागि पर्याप्त बजेट विनियोजन गरेको भए पनि त्यसको कार्यान्वयन भने न्यून देखिएको छ। विगतका आर्थिक वर्षको अवस्था हेर्दा दलित समुदाय लक्षित बजेट पर्याप्त विनियोजन गरेको देखिन्छ। कार्यान्वयनको पाटो भने निकै फितलो रहेको पाइएको छ। आर्थिक वर्ष २०७८/७९ मा रु २४ करोडभन्दा बढी बजेट दलित लक्षित कार्यक्रमका लागि प्रदेश सरकारले छुट्याएको थियो। तर कार्यान्वयन भने करिब रु चार करोडमात्र भएको थियो। मुख्यमन्त्री मातहत रहने गरी मुख्यमन्त्री दलित आयआर्जन रोजगारी प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्दै आएकामा चालु आवदेखि सम्बन्धित मन्त्रालयलाई जिम्मा दिइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। चालु आव २०७९/८० मा रु पाँच करोड बजेट विनियोजन गरिए पनि खर्च हुनसकेको छैन। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गत दलित वर्ग उद्योग विकास कार्यक्रमअन्तर्गत १० वटै जिल्लाका लागि रु पाँच करोड बजेट छुट्याइएको मन्त्रालयका प्रशासन तथा योजना शाखाका अधिकृत तेजेन्द्र रावतले जानकारी दिए। कार्यक्रमको सहमति र बाँडफाँटका लागि प्रदेश योजना आयोग र आर्थिक मामिला तथा योजना मात्रालयमा पठाएकाले कार्यक्रम कार्यान्वयन ढिला भएको र केही दिनमा कार्यान्वयन गरिने उनले बताए। प्रदेश सरकारले मुख्यमन्त्री दलित आयआर्जन रोजगारी प्रवद्र्धन कार्यक्रमका लागि सुर्खेतमा रु ८८ लाख, दैलेखमा रु ७७ लाख, हुम्लामा रु ७२ लाख, सल्यानमा रु ३९ लाख तथा रुकुमपश्चिम र जाजरकोट रु ४०–४० लाख बजेट छुट्याएको छ। यस्तै जुम्ला, मुगु, डोल्पा र कालीकोटमा रु ३५–३५ लाख यो चालु वर्षमा बजेट छुट्याएको अधिकृत रावत बताउँछन्। प्रदेश सरकारले मुख्यमन्त्री दलित आयआर्जन रोजगारी प्रवद्र्धन कार्यक्रम कार्यविधि, २०७७ लागू गरेको छ। आर्थिक, सामाजिक, सांस्कृतिकरूपले पछि परेका कर्णालीका दलितको ज्ञान, सीप र क्षमता अभिवृद्धिमार्फत उनीहरूको जीविकोपार्जन, आर्थिक उन्नति, सामाजिक प्रतिष्ठा र सम्मान अभिवृद्धि गराउने प्रदेश सरकारको उद्देश्य छ। – रासस
हुम्लामा हिमपात (फाेटाेफिचर) सुर्खेत। हिमाली जिल्ला हुम्लामा गए रातिदेखि हिमपात सुरु भएको छ। विगत वर्षमा मङ्सिर र पुसमा पनि यहाँ हिउँ पर्ने गरेको थियो। हिमपात हुँदा यहाँको जनजीवन कष्टकर बनेको छ। यसअघि गत कात्तिकमा उत्तरी नाम्खामा हिउँ परेको थियो। सिमकोटमा एक फिटसम्म हिउँ जमेको छ। लामो समयपछि हिउँ पर्दा यहाँका स्थानीय बिहानैदेखि रमाइलो गर्न थालेका छन्। गए रातिदेखि लगातार हिमपात हुँदा उत्तरी नाम्खा गाउँपालिकाको वडा नं ६ लिमीको जनजीवन कष्टकर बनेको छ। लिमी, मुचु, खगालगाउँ, तिल, जाङ गाउँलगायत स्थानमा बढी हिमपात भएको छ। बाक्लो हिउँका कारण आवतजावतमा समस्या भएको स्थानीयवासीले बताएका छन्। हिमपात हुँदा कोदो, चिनु, फापरलगायत कात्तिके बाली सप्रिने आशामा हुम्लाका किसान छन्।
बेमौसममा पनि खुम्बुमा पर्यटक सोलुखुम्बु । बेमौसममा पनि सोलुखुम्बुको खुम्बु क्षेत्रमा पर्यटक भित्रिएका छन् । विगत तीन दिनको अवधिमा ९५ जना पर्यटक खुम्बु भित्रिएका हुन् । सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेको तथ्याङ्कानुसार माघ १ देखि ३ गतेसम्ममा ९५ पर्यटक खुम्बु प्रवेश गरेका हुन् । तीन दिनको अवधिमा विदेशी नागरिक ६८, सार्क राष्ट्रका तीन, नेपाली दुई, भरिया १८ र चार जना पथप्रदर्शक खुम्बु भित्रिएको निकुञ्का प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले बताए । उनीहरूबाट रु दुई लाख १५ हजार १५० राजस्व सङ्कलन भएको उनको भनाइ छ । बेमौसम र चिसोका कारण यतिबेला खुम्बु क्षेत्रका अधिकांश होटल व्यवसायी जिल्ला बाहिर छन् । यस वर्ष हिउँ नपरेका कारण मौसम सफा भएकाले पनि केही पर्यटक बेमौसममा पनि खुम्बु भ्रमणमा आउने गरेको पर्यटन व्यवसायी लामाकाजी शेर्पाले बताए । हिउँ नपरेका कारण यस वर्ष पदमार्ग पुरिने र चिप्लने समस्या नरहेको उनको भनाइ छ ।
अब ‘सिडिओ’हरू आफ्नै जिल्लामा सरुवा हुन नपाउने काठमाडौँ । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरूको सरुवाका लागि सुशासन (व्यवस्थापन तथा सञ्चालन) नियमावली २०६५ को नियम ९ ले दिएको अधिकार प्रयोग गरी पहिलोपटक कार्यविधि बनाई लागू गरेको छ । सबैलाई सबै ठाउँमा अवसर र अनुभव प्राप्त हुने गरी मन्त्रालयले ‘प्रमुख जिल्ला अधिकारीको पदस्थापन वा सरुवा गर्ने वा कामकाज गर्न खटाउनेसम्बन्धी कार्यविधि २०७९’ तयार पारी लागू गरेको हो । उक्त कार्यविधिअनुसार अब भने कुनै पनि सिडिओले आफ्नो गृहजिल्लामा सरुवा हुन पाउने छैनन् । “अब छिट्टै हुने सरुवा नै त्यही कार्यविधिमा टेकेर हुन्छ”, गृहसचिव विनोदप्रकाश सिंहले भने, “सरुवालाई निष्पक्ष, पारदर्शी र व्यवस्थित गर्न कार्यविधि महत्वपूर्ण हुने विश्वास छ ।” उनका अनुसार गृहमन्त्री रवि लामिछानेको निर्देशनमा उक्त कार्यविधि बनाई लागू गरिएको छ । यसअघि सरुवा बढुवामा राजनीतिक हस्तक्षेप भएको भनी आरोप लाग्दै आएको थियो । “विगतमा धेरै मान्छे एउटै क्षेत्रमा बस्ने अवस्था रह्यो सबैलाई सबै ठाउँको अवसर र अनुभव होस् भन्ने उद्देश्यले कार्यविधि बनाएर लागू गरिएको हो”, गृहप्रवक्ता फणिन्द्रमणि पोखरेलले भने । नेतृत्व, समन्वय, क्षमता, सुरक्षा व्यवस्थासम्बन्धी ज्ञान, स्थनीयस्तरको कार्य अनुभव, रुचि, दक्षता र वरिष्ठताका आधारमा सरल, पारदर्शी एवं अनुमानयोग्यरूपमा गर्न वाञ्छनीय भएकाले कार्यविधि ल्याइएको गृह मन्त्रालयले जनाएको छ । राजपत्राङ्कित प्रथम श्रेणीको प्रजिअको हकमा ‘क’ वर्गको जिल्ला, मन्त्रालय, विभाग वा अन्तर्गत कम्तीमा एक वर्ष काम गरेको, राजपत्राङ्कित द्घितीय श्रेणीको अधिकृतलाई खटाउनुपर्ने अवस्थामा उक्त श्रेणीको पदमा कम्तीमा पाँच वर्षको प्रशासनिक क्षेत्रको कार्यानुभव भएको र कानुनमा स्नाताक तह उत्तीर्ण वा मान्यताप्राप्त संस्थाबाट कम्तीमा तीन महिनाको न्याय तथा कानुनसम्बन्धी तालिम प्राप्त गरेको हुनुपर्नेछ । यस्तै राजपत्राङ्कित द्वितीय श्रेणीको प्रजिअको हकमा राजपत्राङ्कित द्वितीय श्रेणीको सहायक प्रजिअ वा इलाका प्रशासन कार्यालयको प्रमुख भई वा मन्त्रालय विभाग वा अन्तर्गत कम्तीमा एक वर्ष काम गरेको हुनुपर्नेछ । यस्तै कानुनमा स्नातक तह उत्तीर्ण भएको वा मान्यताप्राप्त संस्थाबाट कम्तीमा तीन महिनाको न्याय तथा कानुनसम्बन्धी तालिम प्राप्त गरेको हुनुपर्नेछ । निर्देशिकामा पहिलोपटक प्रमुख जिल्ला अधिकारीको सरुवा गर्दा मन्त्रालय विभाग वा अन्तर्गत कार्यालयमा कार्यरत राजपत्राङ्कित प्रथम वा द्वितीय श्रेणीका अधिकृतमध्ये वरिष्ठ अधिकृतलाई खटाइने छ । काठमाडौँ उपत्यकाका जिल्लामा खटाउँदा ‘ख’ र ‘ग’ वर्गका जिल्लामा प्रजिअ भई अनुभव हासिल गरेका अधिकृतलाई र प्रदेश राजधानी भएको जिल्लाको हकमा मन्त्रालय, विभाग वा अन्तर्गत कार्यालय वा प्रजिअ भई कार्य गरिसकेका अधिकृतलाई तथा गृहसचिव र प्रमुख जिल्ला अधिकारीबीच हुने कार्यसम्पादन सम्झौताको मूल्याङ्कनमा उत्कृष्ट हुने तीन जिल्लाका प्रजिअलाई प्राथमिकता दिइनेछ । कार्यविधिमा पदस्थापन वा सरुवा नगरिने अवस्थासमेत तोकिएको छ । जसअनुसार विभागीय सजाय पाएका, कारबाही प्रक्रिया सुरु भएकामा नटुङ्गिँदासम्म, कार्यसम्पादन सम्झौतामा ९० प्रतिशतभन्दा कम अङ्क ल्याई अन्तिम तीनमा रहने जिल्लाका अधिकारीलाई अर्को जिल्लामा जिम्मेवारी नदिइने उल्लेख छ । अधिकृतको स्थायी ठेगाना भएको जिल्लामा प्रजिअको रूपमा पदस्थापन सरुवा वा काजमा नखटाइने कार्यविधिको बँुदा ५ (ङ) मा उल्लेख छ । कुनै पनि एक प्रदेशमा एक अवधि पूरा गरेका अधिकृतलाई पुनः सोही प्रदेशको अर्को जिल्लामा पनि खटाइने छैन । पदस्थापनका लागि जिल्लाको वर्गीकरणलाई आधार मानिने उल्लेख छ । राजपत्राङ्कित प्रथम श्रेणीको प्रजिअलाई सरुवा गर्ने प्रयोजनका लागि ६१ जिल्लालाई क, ख र गमा वर्गीकरण गरिएको छ । राजपत्राङ्कित प्रथम श्रेणीको अधिकृतलाई पहिलोपटक प्रजिअको रूपमा खटाउँदा ख र ग वर्गका जिल्लामा खटाइने छ । तर मन्त्रालयको महाशाखा प्रमुख वा विभागमा महानिर्देशक भई न्यूनतम एक वर्ष कार्य गरेको अधिकृतलाई क वर्गको जिल्लामा खटाउन बाधा नपर्ने कार्यविधिमा उल्लेख छ । राजपत्राङ्कित द्वितीय श्रेणीको प्रजिअ रहने जिल्लामा प्रजिअ खटाउँदा मन्त्रालय, विभाग वा अन्तर्गतका कार्यालयमा कम्तीमा एक वर्ष काम गरेको हुनुपर्ने छ । ग वर्गको जिल्लामा प्रजिअ भएको अधिकृतलाई ख र क वर्गको जिल्लामा प्रजिअमा खटाइने छ । इच्छाविपरीत पुनः ग मा खटाइने छैन । कार्यविधिमा क वर्गको जिल्लामा भइरहेका अधिकृतलाई तत्काल क वर्गकै अर्को जिल्लामा खटाइने छैन । तर वार्षिक कार्यसम्पादन सम्झौताको मूल्याङ्कनमा उत्कृष्ट तीनवटा जिल्लामा प्रजिअलाई क बाट क वर्गकै जिल्लामा खटाउन बाधा नपर्ने उल्लेख छ । सरुवामा गृहसचिव र प्रजिअबीच हुने कार्यसम्पादन सम्झौताको अङ्कलाई समेत आधार मानिने उल्लेख छ । कुन जिल्ला कुन वर्गमा ? कार्यविधिमा काठमाडौँ, ललितपुर, कास्की, कैलाली, चितवन, झापा, पर्सा, बाँके, मकवानपुर, मोरङ, रुपन्देशी र सुनसरीलाई ‘क’ वर्गको जिल्लामा राखिएको छ । यस्तै इलाम, उदयपुर, कञ्चनपुर, कपिलवस्तु, काभ्रे, गोरखा, तनहुँ, दाङ, धनुषा, धादिङ, नवलपरासीपूर्व र पश्चिम, नुवाकोट, पाल्पा, बर्दिया, भक्तपुर, बारा, महोत्तरी, रौतहट, सिन्धुपाल्चोक, बाग्लुङ, सप्तरी, सर्लाही, स्याङ्जा, सिरहा, सिन्धुली र सुर्खेतलाई ‘ख’ वर्गमा राखिएको छ । यस्तै अछाम, अर्घाखाँची, ओखलढुङ्गा, खोटाङ, गुल्मी, जाजरकोट, जुम्ला, डडेलधुरा, डोटी, दैलेख, दोलखा, धनकुटा, पर्वत, पाँचथर, प्युठान, बैतडी, भोजपुर, रामेछाप, रोल्पा, लमजुङ, सल्यान र सङ्खुवासभालाई ‘ग’ वर्गको जिल्लामा राखिएको छ ।रासस
कहिले पाउँछ गण्डकी सरकारले पूर्णता ? कास्की । गण्डकी प्रदेश सरकारले नयाँ मुख्यमन्त्री पाएको ११ दिन बितिसक्दा मन्त्रिपरिषद्ले भने अझै पूर्णता पाउन सकेको छैन । बिनाविभागीय मन्त्रीका रूपमा शपथ लिएका तीन मन्त्रीको जिम्मेवारी बाँडफाँटसमेत भएको छैन । मन्त्रिपरिषद् कहिले विस्तार हुन्छ कुनै टुङ्गो छैन । सरकारका प्रवक्ता एवं मन्त्री सीताकुमारी सुन्दासले केही दिनभित्रैमा सरकारले पूर्णता पाउने बताइन् । “मन्त्रालयको सङ्ख्या घटाएर मात्र मन्त्रिमण्डल विस्तार गर्ने तयारी छ, मुख्यमन्त्रीज्यूले सुरुदेखि नै यसैमा जोड दिइरहनुभएको छ”, उनले भनिन् । सत्तारुढ दलबीच मन्त्रालय घटाउने र मन्त्रीको जिम्मेवारी बाँडफाँटका विषयमा छलफल भइरहेको प्रवक्ता सुन्दासले उल्लेख गर्नुभयो । दुई–तीन दिनभित्रैमा यो विषय टुङ्गोमा पुग्ने उनको भनाइ छ । हाल रहेका १२ मन्त्रालयलाई घटाएर सातमा पु¥याउने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको तयारी छ । यसअघि प्रदेशसभाका उपसभामुखको निर्वाचनलगत्तै मन्त्रिपरिषद् विस्तार गर्ने भनिए पनि त्यसो हुन सकेन । उपसभामुख निर्वाचित भएको पनि चार दिन बितिसकेको छ । मन्त्रालयको जिम्मेवारी नतोकिँदा मन्त्रीहरू कामविहीन स्थितिमा छन् । विभागीय मन्त्री नहुँदा मन्त्रालयका कामकारबाही पनि प्रभावित हुने देखिएको छ । गत पुस २५ गते मुख्यमन्त्री खगराज अधिकारीसहित तीन विनाविभागीय मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका थिए । बिनाविभागीय मन्त्रीको हैसियतामा नेकपा (माओवादी केन्द्र)का हरिबहादुर चुमान, नेकपा (एमाले)बाट सीताकुमारी सुन्दास र राष्ट्रिय प्रजातन्त्र पार्टीका पञ्चराम गुरुङ रहेका छन् ।
कर्णाली सरकारको पहिलो निर्णय: युवा रोजगार योजना निर्माण गर्न कार्यदल कर्णाली। कर्णाली प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले युवा रोजगार योजना निर्माण गर्न कार्यदल गठन गरेको छ। मुख्यमन्त्री राजकुमार शर्माको अध्यक्षतामा बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव श्यामकृष्ण थापाको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको छ। सचिव थापा नेतृत्वको कार्यदलले कर्णालीका बेरोजगार युवाका लागि प्रति वर्ष १० हजारलाई रोजगार दिने योजना निर्माण गर्न गर्नेछ। मन्त्रिपरिषद्को पहिलो बैठकले समृद्ध कर्णालीका लागि रोजगारीमार्फत स्वरोजगारीको मार्गचित्र तथा कार्ययोजना निर्माण गर्न कार्यदललाई ३० दिनको समयावधि दिएको मुख्यमन्त्री शर्माले बताए। उनका अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव सदस्य र कर्णाली प्रदेश योजना आयोगका प्रशासकीय प्रमुख सदस्य सचिव हुनेगरी कार्यदल गठन गरिएको छ। मुख्यमन्त्री शर्माले पदभार ग्रहण गरेकै दिन कर्णाली प्रदेशका १० हजार बेरोजगार युवालाई हरेक वर्ष रोजगारी दिने र रोजगारीमार्फत स्वरोजगार बनाउने योजना सार्वजनिक गरेका थिए। सोही योजनाबमोजिम कार्यदलले युवा रोजगारीका लागि आवश्यक तथ्याङ्कसहित योजना निर्माणको प्रतिवेदन ल्याउने र त्यसले काम कारवाही कसरी थाल्ने भन्ने मार्गनिर्देशन गर्ने उनले बताए।
धौलागिरिमा बेपत्ता दुई युवाको शव फेला काठमाडौं। पर्वतीय पदयात्राका क्रममा धौलागिरि हिमाल क्षेत्रमा लडेर बेपत्ता भएका दुई युवाको शव तीन महिनापछि फेला परेको छ। ‘फोर सिजन माउन्टेन ट्रेक’मार्फत गत असोजमा धौलागिरि क्षेत्रको पदयात्रामा गएका सिन्धुपाल्चोका २८ वर्षीय देव लामा र सोलुखुम्बुका २७ वर्षीय बालकुमार कार्कीको शव फेला परेको हो। पर्वतीय पर्यटन व्यवसायीको साझा संस्था ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान)को पहलमा फोर सिजन माउण्टेन ट्रेक्सले गत असोज २१ गते धौलागिरि हिमालको खरपासमा खसेर बेपत्ता भएकामध्ये कार्कीको शव बुधबार काठमाडौँ ल्याइएको हो। मृतक लामाको शव भने भने फेला परे पनि ल्याउन समस्या भएको फोर सिजन माउण्टेन ट्रेक्सका सञ्चालक बसन्त लिम्बूले जानकारी दिए। हिमपात भएको बेला बेपत्ता बनेका कार्की र लामाको शव हिउँ पग्लँदै गएपछि फेला परेको हो। कार्कीको शव एयर डाइनेष्टिक हेलिकप्टरमार्फत पोखरा ल्याई त्यहाँबाट शव बाहनमार्फत काठमाडौँ ल्याइएको टानका अध्यक्ष निलहरि बाँस्तोलाले जानकारी दिए। यस्तै, लामाको शव ल्याउनका लागि आज बिहानैदेखि प्रयास भइरहेको उनको भनाइ छ। मृतक कार्कीको शवलाई हाल शव परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ।
रसुवामा अनलाइन फारम निःशुल्क भर्ने व्यवस्था रसुवा। रसुवामा राहदानी प्राप्तिका लागि सेवाग्राहीको माग आवेदन अनलाइन फारम निःशुल्क भर्ने व्यवस्था गरिएको छ। सेवाग्राहीलाई बिना झमेला सहज तरिकाले राहदानी उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालयका कर्मचारीले अनलाइन फारम भर्न सहयोग गर्न थालेका हुन्। हिमाली जिल्ला, भौगोलिक विकटता, कठ्याङ्ग्रिँदो चिसोको समस्यालाई ध्यानमा राख्दै आजको आजै सेवा प्रदान गर्न कर्मचारीमार्फत निःशुल्क रूपमा अनलाइन फारम भर्ने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले जानकारी दिए। सरदरमा दैनिक १०-१२ सेवाग्राहीले राहदानी प्राप्तिका लागि आवेदन अनलाइन फारम भराउने गरेका छन्। जिल्ला प्रशासन कार्यालयले निःशुल्क फारम भर्ने व्यवस्था मिलाएका कारण केही राहत मिलेको सेवाग्राहीले प्रतिक्रिया दिएका छन्। नियमसङ्गत तरिकाले जिल्ला प्रशासन कार्यालयमा पेश भएका माग पत्रलाई आजको आजै सम्बोधन गर्दै कार्यसम्पादन गर्ने गरिएको छ। यस्तै विपद् व्यवस्थापनका लागि सवै सुरक्षा अङ्गलाई आवश्यक साधनसहित तयारी हालतमा राखिएको प्रजिअ अधिकारीले बताए। रासस
मधेस प्रदेशमा आज सार्वजनिक विदा जनकपुर। मधेस प्रदेश सरकारले आज सार्वजनिक विदा दिएको छ। प्रदेश सरकारले माघ ५ गते बलिदानी दिवस र मधेस आन्दोलन स्मृति दिवसको रूपमा बिदा दिने निर्णय गरेको हो। मधेस आन्दोलनका क्रममा सिरहाको लहानमा रमेश महतोको ज्यान गएको दिनलाई मधेस बलिदानी दिवसका रूपमा प्रदेश सरकारले प्रत्येक वर्ष माघ ५ गते बलिदानी दिवस मनाउँदै आएको छ।
भू–उपयोग नीति कार्यान्वनका विषयमा बुझाउँदै भोजपुर नगरपालिका भोजपुर । जग्गा वर्गीकरणका विषयमा चर्चा चलिरहँदा भोजपुर नगरपालिकाले भू–उपयोग नीति कार्यान्वनका विषयमा सरोकारवालासँग अन्तर्क्रिया सुरु गरेको छ । भू–उपयोग नीतिका बारेमा सरोकारवालालाई जानकारी दिने उद्देश्यले अहिले नगरपालिकाले वडास्तरीय अन्तर्क्रिया कार्यक्रम सुरु गरेको भोजपुर नगरपालिकाका कार्यक्रम अधिकृत सुरेन्द्र राईले बताए । भू–उपयोग ऐन, २०७६ र भू–उपयोग नियमावली, २०७९ मा भएका मापदण्ड तथा व्यवस्था र वर्गीकरणको सवालमा वडास्तरीय छलफल तथा अन्तर्क्रिया कार्यक्रम भइरहेको कार्यक्रम अधिकृत राईको भनाइ छ । भू–उपयोग ऐन, २०७६ र नियमावली, २०७९ जारी भएकाले भोजपुर जिल्लामा रहेका दुई नगरपालिका र सात गाउँपालिकाले पनि सोहीअनुसार आफ्नो क्षेत्रमा कार्यान्वनमा ल्याउने छन् । जग्गा वर्गीकरण गरिएका समूहमा कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन, नदी, खोला, ताल, सिमसार, सार्वजनिक उपयोग, सांस्कृतिक तथा पुरातात्विक महत्त्व र नेपाल सरकारबाट आवश्यकताअनुसार तोकिएका अन्य क्षेत्रसहित १० क्षेत्रमा विभाजन गरिएको छ । भौगोलिक अवस्था, भूमिको क्षमता एवं आवश्यकताका आधारमा जग्गाको वर्गीकरण गरेर भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले प्रत्येक स्थानीय तहको भू–उपयोग क्षेत्र नक्सा र त्यसको विवरण तयार पार्नुपर्ने भनेकाले सोहीअनुसार भोजपुर नगरपालिकाले पनि तयारी सुरु गरेको हो । सोहीअनुसार भोजपुर नगरपालिकाले पालिकाभित्रका १२ वटा वडामध्ये वडा नम्बर १ देखि ९ सम्म सार्वजनिक छलफलसहित अन्तर्क्रिया गरेको छ । भोजपुर नगरपालिका, भू–उपयोग परिषद्को आयोजना तथा वडाको स्थानीय व्यवस्थापनमा भू–उपयोग ऐन, २०७६ र भू–उपयोग नियमावली, २०७९ मा भएका मापदण्ड तथा व्यवस्था र वर्गीकरणको सवालमा वडास्तरीय छलफल तथा अन्तक्र्रिया कार्यक्रममा राजनीतिक दल, जनप्रतिनिधि, सङ्घसंस्था तथा कार्यालयका कर्मचारी, बौद्धिक तथा सामाजिक व्यक्तित्वको सहभागिता हुने गरेको भोजपुर नगरपालिका–८ का वडाध्यक्ष नवीन प्रधानले बताए । प्रधानले भने, “भू–उपयोग नीतिका विषयमा चर्चा चले पनि यसको विषयमा कसैले नबुझिरहेको अवस्थामा वडास्तरीय अन्तक्र्रिया प्रभावकारी छ, यो भोजपुरका सबै पालिकाले गर्न आवश्यक देखिन्छ ।” भोजपुर नगरपालिकाले यही माघ ९ गतेभित्र वडास्तरीय अन्तर्क्रिया सकेर अन्य प्रक्रिया थाल्ने जनाएको छ ।
थारु संस्कृति जोगाउन भैरहवामा माघ महोत्सव हुने भैरहवा । थारु संस्कृति, वेशभूषा, खानपिन जोगाउने उद्देश्यसहित भैरहवामा ‘२६४७ औँ थारु लवा वर्ष एवं माघ महोत्सव’ आयोजना हुने भएको छ । थारुहरूको नयाँ वर्षको अवसरमा माघ पर्व (खिचडी) महोत्सव माघ ७ गते हुने आयोजकले जानकारी दिएको छ । थारु कल्याणकारिणी सभा जिल्ला कार्यसमिति रुपन्देही तथा ओमसतिया गाउँपालिकाको सहआयोजनामा पडसरीमा कार्यक्रम हुने थारु कल्याणकारिणी सभा जिल्ला कार्यसमिति रुपन्देहीका अध्यक्ष शतिशकुमार चौधरीले जानकारी दिए । ‘थारु भाषा, कला संस्कृति र पहिचान, न्याय समानता, अधिकारके सङ्घर्ष हम्मनके अभियान’ को मूल नारासहित थारुहरूले धुमधामका साथ थारु लवा वर्ष मनाउने उनले जानकारी दिए । गौतमबुद्ध पनि थारु समुदायकै भएको दाबीसहित थारुहरूको वर्षलाई गौतमबुद्धको जन्ममितिअनुसार २६४७ औँ वर्षको रूपमा लिइएको चौधरीले बताए । उनले माघ १ गते माघी बनाइने भए पनि थारुको लागि माघ महिनाभरि उत्सवका रूपमा हुने बताए । माघ महिनामै तत्कालीन समयमा थारुहरूले बडघर फेर्ने, ज्याला बढाउने, घरको दाजुभाइमा सरसल्लाहले छुट्टिनेलगायतका कारण माघ महिना नै महत्त्वपूर्ण रहेको चौधरीको भनाइ छ । आदिवासी थारु तराईको धर्तीपूत्रको रहे पनि उनीहरू जनसङ्ख्याको आधारमा अहिले पनि प्रतिनिधित्व नभएको हुँदा अब थारुहरू पनि आर्थिक कारोबार एवं राजनीतिलगायतमा सक्रिय हुने अवस्था आएको उनको भनाइ छ । महोत्सवले थारुहरूलाई अगाडि बढाउने अपेक्षा गरेको चौधरीले बताए । महोत्सवमा विशुद्ध थारु कार्यक्रमको आयोजना गरिने ओमसतिया गाउँपालिका उपाध्यक्ष सुनिता चौधरीले बताइन् । जिल्लाको विभिन्न भागमा रहेका थारु समुदाय आ–आफ्नो झाँकीसहित कार्यक्रमस्थल पुग्ने र कार्यक्रमस्थलमा थारु कलासंस्कृतिका महत्त्वपूर्ण कार्यक्रम आयोजना हुने उनले बताइन् । यसका साथै महोत्सवमा थारु परिकारका रूपमा परिचित घोङी, ढिकरी, रिकवच, माछालगायतका परिकार राखिने चौधरीले बताइन् । सोही दिन थारु कल्याणकारिणी सभाको सचिवालय भवन तथा थारु सङ्ग्रहालयको उद्घाटन गर्ने कार्यक्रम पनि रहेको उनले बताइन् ।
जनक शिक्षालाई भ्रष्टाचारको आरोप काठमाडौं । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई भ्रष्टाचार गरेको आरोप लगेको छ । अधिकारकर्मीले आज यहाँ पत्रकार सम्मेलन गरी ड्यामेज कागज कवाडीमा जनकपुर पठाउने भन्दै बाहिर ल्याउने र मनोहरा खोलाको आसपासमा कन्टेनर केही दिन राखेर पछि सोही कागज जनक शिक्षाको गोदाममा ल्याउने गरेको आरोप लगाएका छन् । उनीहरूले कागज बोकेको १३ वटा कन्टेनर प्रहरीले नियन्त्रणमा लिएको समेत बताएका छन् । गत पुस २७ गते करिब एक लाख ५३ हजार केजी कागज भएका कन्टेनर प्रहरीले नियन्त्रणमा लिएको उनीहरुको भनाइ छ । अधिवक्ता यज्ञमणि न्यौपानेले घटना भएको भोलिपल्ट अख्तियार दुरुपयोग अनुसन्धान आयोग र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा उजुरीसमेत दिएको बताए । उजुरी दिएको आठ दिन बितिसक्दा पनि अनुसन्धानको प्रक्रिया अगाडि नबढेको उनको भनाइ छ । पत्रकार कुश्लव केसीले जनक शिक्षाको भ्रष्टाचार बाहिरबाट हेर्दा सामान्यजस्तो लागे पनि यसमा लाखौँ बालबालिकाको भविष्य जोडिएकाले आफूहरूले उक्त विषय सार्वजनिक गर्न बाध्य भएको जिकीर गरे ।
राहदानी विभागमा सेवाग्राहीको भीड थपिँदै काठमाडौं । राहदानी विभागमा सेवाग्राहीको भिड थपिँदै गएको छ । गत पुस १७ गतेदेखि विभागको सर्भरमा देखिएको समस्या एक हप्तापछि समाधान भएसँगै राहदानी लिनेहरूको भिड लाग्न थालेको हो । विभागमा राहदानी लिन आउनेका कारण त्यहाँको भिड थेगिनसक्नु भएको विभागले जनाएको छ । विभागमा हिजोआज वैदेशिक रोजगारमा जानका लागि राहदानी बनाउन आउनेको भिड बढ्दै गएको विभागका निर्देशक तथा प्रवक्ता दुरपदा सापकोटाले बताइन् । उनले भनिन्, “विभागमा राहदानीसम्बन्धी सबै काम सुरु भएको छ, सेवाग्राहीको पनि भीड बढेको छ, बीचमा केही दिन बिदा परेकाले पनि अहिले सेवाग्राहीको भीड बढेको हो ।” सरकारले अत्यावश्यक सेवामा भीड कम गर्ने निर्णयपछि विभागले तीन/चार वटा अनौपचारिक कार्ययोजना बनाएको जनाएको छ ।
मधेस प्रदेशले दियो भोली सार्वजनिक बिदा धनुषा । मधेस प्रदेश सरकारले भोलि बिहीबार सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले माघ ५ गते बलिदानी दिवस र मधेस आन्दोलन स्मृति दिवसको रूपमा बिदा दिने निर्णय गरेको हो । मधेस आन्दोलनका क्रममा सिरहाको लहानमा रमेश महतोको ज्यान गएको दिनलाई मधेस बलिदानी दिवसका रूपमा प्रदेश सरकारले प्रत्येक वर्ष माघ ५ गते बलिदानी दिवस मनाउँदै आएको छ ।
राष्ट्रपति पद मेरो लागि होइनः डा. रुइत काठमाडौं । वरिष्ठ आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइतले सम्पूर्ण जीवनको तपस्याको परिणाम आफुले इसा अवार्ड पाउन लागेको भन्दै खुसी व्यक्त गरेका छन् । बुधबार काठमाडौंमा पत्रकारसंग कुरा गर्दै डा रुइतले इसा अवार्ड अहिलेसम्मको सबैभन्दा ठूलो पुरस्कार भएको र यो सम्पूर्ण जीवनको तपस्याको परिणाम भएको बताएका हुन् । जिन्दगीमा धेरै अवरोधहरु सहेको र धरै सान्त्वना तथा पुरस्कार पनि पाएको भन्दै सबै कुराले आफुलाई अघि बढाउन प्रेरित गर्ने उनले बताए । उनले पुरस्कारले नेपालको आत्मसम्मानलाई पनि निकै माथि उठाएको जिकिर गरे । उनले नेपालको पहुँच नपुगेको स्थानमा पनि सेवा पुराउन प्रतिवद्ध भएर लागिरहेको जिकिर गरे । त्यस्तै उनले सबै मिलेर राष्ट्रपतिको गरिमा बढाउनुपर्ने भन्दै उक्त पद आफ्ना लागि नभएको र आफुले आफ्नो लिमिटेसन र स्थान राम्रोसँग बुझेको तर्क गरे । एसियाको नोबेल मानिने म्यागासेसे पुरुस्कार पाएका विश्वविख्यात आँखा सर्जन डा. रूइतलाई बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापना गरिएको इसा अवार्ड दिन लागिएको हो । पुरस्कारको राशी १० लाख डलर रहेको छ ।
गाँजा खानेको म्यासेन्जर ग्रुप रेसुङ्गा । पछिल्लो समय सामाजिक सञ्जालको प्रयोगका नाममा दुरुपयोग पनि उत्तिकै बढ्दै गएको छ । सामाजिक सञ्जालका विभिन्न माध्यमको प्रयोग गरेर समाजमा विकृति बढ्दै जाँदा गुल्मीमा पनि अचम्मको प्रसङ्ग बाहिरएको हो । सुन्दा अचम्म लाग्न सक्छ तर, गुल्मीमा फेसबुक म्यासेन्जरको प्रयोग गरेर एक समूहले लागुऔषधको प्रयोग गर्दै आएको छ । जिल्लामा गाँजा खानेको म्यासेन्जर ग्रुप छ । जसको नाम जी ग्रुप राखिएको छ । उनीहरू म्यासेन्जर ग्रुपमा गाँजा खाने ठाउँ, गाँजा लिने पालो र सहभागी हुने विषयमा छलफल गर्दछन् । सामाजिक सञ्जाल फेसबुक प्रोफाइल हेरेर उनीहरूले ग्रुपमा सदस्य थप्दै गएका छन् । चित्र तथा चरित्रको आधारमा शङ्का लागेमा त्यही ग्रुपमा जोडेर कुराकानी गर्ने गर्दछन् । यो कुरा सर्वपक्षीय छलफलका क्रममा बाहिरिएको हो । जिल्ला प्रशासन कार्यालय गुल्मीले बुधबार लागुऔषध नियन्त्रण गर्न सर्वपक्षीय छलफल आयोजना गरेको थियो । जिल्लास्थित सुरक्षा निकायका प्रमुख, उद्योग वाणिज्य सङ्घ, चेम्बर अफ कमर्स, उद्योग सङ्घ गुल्मी, होटल व्यवसायी मञ्च, सरकारी विद्यालय, निजी विद्यालय, नागरिक समाज, पत्रकारलगायत विभिन्न सरोकारवाला सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिको छलफलमा सहभागिता रहेको थियो । उद्योग वाणिज्य सङ्घ गुल्मीका तर्फबाट छलफलमा आफ्नो सहभागिता जनाएका वरिष्ठ उपाध्यक्ष ताराप्रसाद भुसालले गाँजा खानेको म्यासेन्जर ग्रुपसमेत भएको जानकारी गराए । “लागुऔषधको समस्या गम्भीररूपमा विकराल बन्दै गएको छ”, उनले भने, “गाँजा ग्रुपको बारेमा केही जानकारी पाएपछि त्यो बुझ्दा साँच्चिकै रहेछ ।” भुसाललाई गाँजा खानेको म्यासेन्जर ग्रुपबारे थाहा भयो । त्यसपछि जोडिएर सबै जानकारी लिन खोजे । फेसबुकमा त्यही किसिमको नक्कली चित्र देखाएपछि सदस्य बने । त्यसबारे सबै बुझेपछि उनी त्यसबाट हटे । भुसालको यो परीक्षणले गुल्मीमा लागू औषधको समस्या भयावह बनिरहेको सजिलै आँकलन गर्न सकिन्छ । उपल्लो तम्घास माध्यमिक विद्यालयकी प्रधानाध्यापक पिङ्की भुसालले बालबालिकामा लागुऔषधको लत छुट्नै नसक्ने गरी परिसकेको बताइन् । बालबालिकालाई यसबाट छुटाउन परामर्शले मात्र नपुग्ने भन्दै यसलाई गम्भीररूपमा लिएर अगाडि बढ्न आग्रह गरिन् । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा गुल्मीका अध्यक्ष टोपलाल अर्यालले जसमा समस्या छ त्यसैलाई समाधानका लागि प्रयोग गर्नुपर्ने बताए । नागरिक समाज गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेले अभियानका रूपमा कार्यक्रम सञ्चालन गरेर जनचेतना जगाएमा र होटल व्यवसायी संयमित बनेमा केही हदसम्म लागुऔषधको प्रयोग घट्ने बताए । होटल व्यवसायी मञ्च गुल्मीका अध्यक्ष जङ्गबहादुर थापाले आफूहरूले बिक्री गर्न नमिल्ने कुराहरूमा सचेत हुने बताए । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक माधवराज खरेलले विधिको शासन प्रयोग गर्दै नियमन, नियन्त्रण र सचेतनाका कार्यक्रम गर्ने बताए । उनले लागुऔषधको प्रयोग गर्न बनाइएका माध्यमलाई नियमन गर्ने बताएका छन् । गुल्मीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले लागुऔषधको प्रयोगका लागि अवसर दिने र चाहना राख्ने दुवैलाई शून्यतर्फ झार्न लाग्ने जानकारी दिए । “सबैले आ–आफ्नो तर्फबाट भूमिका र जिम्मेवारी निर्वाह गर्नुपर्दछ”, प्रमुख जिल्ला अधिकारी पौडेलले भने, “अब जिल्ला तहबाट पालिकासम्म लागुऔषध नियन्त्रण गर्न अभियान चलाउँछौँ ।” विद्यालयबाट लागुऔषध नियन्त्रणका कार्यक्रम चलाउन आग्रह गरिने पौडेलले बताए ।
मधेस प्रदेशका सभामुख र उपसभामुखले लिए शपथ महेन्द्रनगर।  मधेस प्रदेशसभाका नवनिर्वाचित सभामुख रामचन्द्र मण्डल र उपसभामुख बबिताकुमारी राउत इशरले पद तथा गोपनीयताको शपथ लिएका छन्। मधेस भवनमा आज उनीहरूलाई प्रदेश प्रमुख हरिशङ्कर मिश्रले पद तथा गोपनीयताको शपथ गराए। सभामुख र उपसभामुखको शपथ कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, विना विभागीयमन्त्री सरोजकुमार यादव लगायतको उपस्थिति थियो। मण्डल र इशर मङ्गलबार नै मधेस प्रदेशको सभामुख र उपसभामुखमा निर्वाचित भएका हुन्। मङ्गलबार बसेको प्रदेशसभा बैठकमा मण्डललाई सभामुखमा चयन गरियोस् भन्ने प्रस्तावको पक्षमा ७४ मत अर्थात् बहुमत सदस्यको समर्थन प्राप्त भएको थियो। कूल एक सय सात सदस्यीय प्रदेशसभामा एक सय तीन सदस्यले मतविभाजन प्रक्रियामा सहभागिता जनाएका थिए। मण्डललाई सत्ता गठबन्धन दल नेकपा (एमाले), जनता समाजवादी पार्टी, नेकपा (माओवादी केन्द्र), जनमत, लोकतान्त्रिक समाजवादी पार्टी, राप्रपा, नेपाल सङ्घीय समाजवादी पार्टी र स्वतन्त्रको समर्थन थियो। यसैगरी जनमत पार्टीका उम्मेदवार इशरलाई उपसभामुखमा निर्वाचित गरियोस् भन्ने पक्षम ७२ मत प्राप्त भएको थियो। उनको विपक्षमा २९ मत खसेको थियो।  उपसभामुखको निर्वाचन प्रक्रियामा एक सय एक सदस्यले सहभागिता जनाएका थिए।
अञ्जुको शोकमा छ चाँदनीचोक विरानगर। विराटनगर-५ स्थित चाँदनीचोक तीनकुनेमा रहेको को-पाइलट अञ्जु खतिवडाको माइतीघर शोकमा डुबेको छ। काठमाडौँबाट गत आइतबार पोखराका लागि उडेको यती एयरलाइन्सको विमान पोखरामा अवतरणका क्रममा दुघर्टनामा परेको थियो। चालक दलका चार सदस्यसहित सो विमानमा कुल ७२ सवार थिए। विमानकी को-पाइलट अञ्जुको पनि सोही दुघर्टनामा परेर निधन भएको थियो। को-पाइलट अञ्जुको विराटनगरस्थित माइतीघरमा ८९ वर्षीया हजुरआमा शुभद्रा खतिवडाको आँसु थामिएको छैन। बाबु गोविन्दराज खतिवडा र आमा इन्दिरा खतिवडा विमान दुघर्टनाग्रस्त भएको खबर सुन्नासाथ सोही दिन विराटनगरबाट काठमाडौँ प्रस्थान गरेकी थिइन्। विमान दुघर्टनामा परी नातिनीको निधन भएको खबरले हजुरआमा शुभद्रा विक्षिप्तझैँ भएकी छन्। अञ्जुलाई सम्झेर हजुरआमा भक्कानिने गरेकी छन्। नातिनीको वियोगमा उनले खानपिउनसमेत छाडेकी छन्। छिमेकी र आफन्त को-पाइलट अञ्जुको माइतीघरमा पुगेर शुभद्रालाई सान्त्वना दिने काम गरिरहेका छन्। तर हजुरआमा बोल्ना साथै नातिनी सम्झेर भक्कानिने गरेकी छन्। हजुरआमाले नातिनीमा अदम्य साहस रहेको र जिम्मा लिएको काम पूरा गरेरै छाड्ने गरेको बताइन्। उनले नातिनी अञ्जुसँग विमान दुघर्टनाको १५ दिनअघि भेट भएको बताइन्। विमान ‘हल्ट’ गर्नुपर्दा विराटनगरमा छँदा को-पाइलट अञ्जु माइतीमै रात्रिविश्राम गर्ने गर्थिइन्। भेटमा हजुरआमाले नातिनी अञ्जुलाई माघे सङ्क्रान्तिमा ज्वाइँलाई लिएर माइती आउन निम्ता दिएकी थिइन्। तर निम्ता अधुरै रह्यो। अञ्जुलाई पुलाउ र तारेको आलु खुबै मनपर्ने भन्दै हजुरआमा शुभद्राले माइतीको पक्का घर पनि अञ्जु आफैँले ठड्याएको बताइन्। छोरा गोविन्द जागिरमा र बुहारी इन्दिरा घरधन्दामा व्यस्त रहने हुँदा आफ्नै काखमा नातिनीलाई खेलाएर हुर्काएको र साथीको झैँ सम्बन्ध रहेको हजुरआमा शुभद्राले बताइन्। फूपू प्रमिला सुवेदीले गत साउन १७ गते हजुरबुवा वेदनाथ खतिवडाको वार्षिक श्राद्धको सम्पूर्ण काम भदैनी अञ्जुले आफ्नो जिम्मामा लिएर फत्ते गरेको बताइन्। काका पुण्यप्रसाद खतिवडाले भतिजी अञ्जुमा कहीँकतै खोट लगाउने ठाउँ नभएको बताए। उनी पनि अञ्जुलाई आगोले कति पोल्यो होला भन्दै भक्कानिए। मिलनसार स्वभाव र अत्यन्तै बाठी अञ्जुले पहिलो श्रीमान्को विमान दुघर्टनामा नै निधन भएपछि शोकलाई शक्तिमा बदल्दै आफैँ पनि विमान चालक बनेको काका पुण्यप्रसादले बताए। दुघर्टनाको दिन पनि बिहान को-पाइलट अञ्जुले माइतीमा रहेका आफ्ना बाबुआमासँंग टेलिफोनमा कुराकानी गरेको काका पुण्यप्रसादले बताए। को-पाइलट अञ्जुको पहिलो श्रीमान् दिपक पोखरेलको पनि यति एयरलाइन्सको विमान दुघर्टनामा नै निधन भएको थियो। पोखरेलको निधनपछि अमेरीकाबाट विमान उडाउने तालिम लिएकी खतिवडा यती एयरलाइन्समा को-पाइटलको रूपमा कार्यरत थिइन्। रासस
कमिसनको चक्करमा नौ वटा सिँचाइ आयोजना अलपत्र, एक करोड ३३ लाख स्वाहा सुर्खेत। जाजरकोट भेरी नगरपालिका–१ को रिम्ना लिफ्ट सिँचाइ आयोजना कागजीरुपमा सम्पन्न भएको भएको पाँच महिना पुग्यो। तर, आयोजना पूर्ण रुपमा निर्माण सम्पन्न भएको छैन। २५ लाख रुपैयाँ खर्चिएको यो आयोजना हाल अलपत्र छ। सोलार पाताहरू अलपत्र र तोडफोड गरिएको अवस्था छन्। निर्माण सम्पन्न भएको भन्दै कृषि विकास कार्यालयले आयोजनाको सम्पूर्ण रकम भुक्तानी दिइसकेको छ। आयोजनाका लागि पर्याप्त पाइपसमेत छैन। पाँच सय मिटर पाइप स्टमेट भए पनि आयोजनामा कार्यालयले तीन सय मिटरमात्रै पाइप दिएको छ। सिँचाइ पोखरीसम्म पाइप नपुगेकै कारण आयोजना सञ्चालनमा आउन नसकेको हो। आयोजनाको सम्पूर्ण निर्माण सामग्री कार्यालय आफैले खरिद गरेको थियो। त्यस्तै, भेरी नगरपालिका–१३ बारेलास्थित इमिलेचौर लिफ्ट सिँचाइ योजना पनि अलपत्र छ। १५ लाखको यो आयोजााको पाइप र सोलहरू यत्रतत्र छरिएका छन्। आयोजनाको सोलार सिस्टमनै चल्दैन। यो आयोजनाको पनि सम्पूर्ण निर्माण सामग्री कार्यालयले आफैले खरिद गरेको थियो। तर, आयोजनाले स्टेमटअनुसार पाइप पाएन। पाइप अपुग भएकै कारण नदीदेखि पोखरीसम्म पानी पुगेको छैन। भेरी नगरपालिका १२ को बिस्नेचौर लिफ्ट सिँचाइ आयोजना पनि अलपत्र छ। १० लाखको यो आयोजनाले न स्टमेटअनुसार पाइप पाएको छ न त पाइप र सोलारको संरक्षण नै गरिएको छ। पाँच सय ८० मिटर पाइप स्टमेट गरिएको आयोजनाले तीन सय मिटरमात्र पाइप पाएको छ। यो आयोजनाको त पोखरीसमेत निर्माण नगरिएको छैन। सोही क्षेत्रमा यसअघि निर्माण गरिएको डिप बोरिङको पोखरीमा पानी जम्मा गर्ने भनिएको थियो। तर नदीबाट पोखरीसम्म पुग्ने पाइप आयोजनाले पाएको छैन। आयोजनाको सोलार सिस्टमपनि चल्दैनन्। खानेपानीसमेत सुविधा नभएको त्यहाँका २५ घरधुरी स्थानीयले नदीबाट पानी बोकेर पिउन बाध्य छन्। भेरी नगरपालिका–१३ स्थित बिस्नेचौरमा लिफ्ट सिँचाइ योजनाको अवस्था पनि हरिबिजाग छ। १५ लाखको यो आयोजनाबाट ३५ घरधुरी लाभान्वित हुने लक्ष्य थियो। दुर्भाग्य, निर्माण सम्पन्न नभएकै कारण किसानले लाभ पाउन सकेका छैनन्। उल्लेखित आयोजना मात्रै होइन। गत आर्थिक वर्षमा कृषि विकास कार्यालयबाट सञ्चालन भएका नौ वटा सिँचाइ आयोजनाहरू अहिले पनि अलपत्र परेका छन्। आयोजना कागजमा सम्पन्न भएपनि सञ्चालनमा ल्याउन सकिएको छैन। तर, सबै आयोजनको रकम भुक्तानी भइसकेको छ। कमिसनको चक्करले कुनै पनि आयोजनाको पूर्ण निर्माण सम्पन्न भएनन्। सबै आयोजनाले स्टमेटअनुसार पाइप पाएका छैनन्। आयोजना सञ्चालनमा आउन नसकेपछि पाइप, सोलार र पानी तान्ने मोटरहरू अलपत्र छन्। तर, लिफ्ट सिँचाइ आयोजनाको नाममा एक करोड ३५ लाख रकम स्वाहा भइसकेको छ। आर्थिक वर्ष २०७८/०७९ मा दशवटा सिँचाइ योजनाहरू निर्माण थालिएका हुन् । कागजी रुपमा निर्माण सम्पन्न गराएर कार्यालयले एक करोड ३३ लाख रकम भुक्तानी दिइसकेको छ। यी हुन् अलपत्र आयोजनाहरू गत आर्थिक वर्षमा कृषि विकास कार्यालयले सञ्चालन गरेका नौ वटा सिँचाइ आयोजनारु अलपत्र परेका छन्। छेडागाड–१३ को मनघाट लिफ्ट सिँचाइ योजना, भेरी १० को तल्लोचौर लिफ्ट सिँचाइ योजना, भेरी १२ को बिस्नेचौर लिफ्ट सिँचाइ योजना, भेरी १३ को इमिलेचौर लिफ्ट सिँचाइ योजना अलपत्र छन्। त्यस्तै, भेरी १२ को बारेला लिफ्ट सिँचाइ योजना, भेरी ११ को थापाचौर लिफ्ट सिँचाइ योजना, भेरी नगरपालिका–१ को रिम्ना लिफ्ट सिँचाइ योजना नलगाड- ७ को चामाखेत लिफ्ट सिँचाइ योजना र नलगाड- ८ को मनमइ लिफ्ट सिँचाइ योजना पनि अलपत्र छन्। आयोजनामध्ये मनघाट आठ लाख, तल्लोचौर दश लाख, बिस्नेचौर १५ लाख, इमिलेचौर १० लाख, बारेला १० लाख, थापाचौर १५ लाख, रिम्ना, २५ लाख, चामाखेत १० लाख र मन्मइ १५ लाखको सिँचाइ आयोजनाहरू हुन्। कसले खायो कमिसन ? कमिसन खाने प्रवृतिका कारण लिफ्ट सिँचाइ आयोजना अलपत्र परेका छन्। तर कमिसन कसले खायो भन्ने विषयमा भने उपभोक्ता र कार्यालयले एकले अर्कालाई दोष दिएका छन्। कार्यालयले कमिसन खाएकै कारण सिँचाइ आयोजना अलपत्र परेको उपभोक्ताहरू आरोप लगाउँछन्। ‘कमिसन खानकै लागि आयोजनाका सम्पूर्ण सामग्रीहरू कार्यालय आफैले खरिद ग¥यो’ इमिलेचौर लिफ्ट सिँचाइ योजनाका अध्यक्ष रामे कामीले भने, ‘कमिसन खाएकै कारण कार्यालयले स्टमेट अनुसार पाइप दिएन, दिएका सामान पनि गुणस्तर छैनन्।’ भेरी नगरपालिका–१३ का धरमबहादुर बस्नेतले पनि कृषि विकास कार्यालयले कमिसन खाएकै कारण आयोजना लपत्र परेको आरोप लगाए। ‘कमिसनका लागि उपभोक्तालाई थाहानै नदिइ कार्यालयले सामग्री खरिद गर्यो’ उनले भने, ‘उपभोक्ताको खातामा रकम हाल्यो, चेकमा सही गराएर पैसा लिएर गयो।’ उपभोक्ता समितिलाई थाहा नदिए बोलपत्र आह्वान गरेको, उपभोक्ताको नामबाट कागज मिलार सामग्रीहरू खरिद गरेको जस्ता आरोप लगाएका छन्। कमिसनकै लागि कार्यालयले सोलार, पाइप, जाली, सिमेन्ट लगायतका सामग्री खरिद गरेको उपभोक्ताहरूको आरोप छ। तर, कार्यालयले कमिसन नपाएपछि उपभोक्ताहरूले अनावश्यक आरोप लगाएको दाबी गरेको छ। ‘आयोजनाहरूका सामान खरिदमा कार्यालयको कुनै संलग्नता छैन, उपभोक्ता समिति आफैले सामान खरिद गरिएका हुन्’ कृषि विकास कार्यालयका प्रमुख रविन धितालले भने, ‘तर सामान खरिद गरेको कम्पनीबाट कमिसन नपाएपछि उपभोक्ताले कार्यालयलाई अनावश्यक आरोप लगाएका हुन्।’ बरु सामान खरिदका उपभोक्ताहरूको नम्बर दिएर आफूले सहजीकरण मात्रै गरेको उनको जिकिर छ। आयोजना सम्पन्न गराउन उपभोक्ताहरूले श्रमदाननै नगरेको, सामान खरिद गरिएको कम्पनीबाट हरेक सदस्यले कमिसन मागेको उनको आरोप छ।
महोत्तरीमा नक्कली प्रहरी बनेर लुटपाट गर्ने ६ जना पक्राउ महोत्तरी। नक्कली प्रहरी वनेर लुटपाट गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। वर्दिबास नगरपालिका वडा नं. ०४ स्थित पूर्व पश्चिम लोकमार्ग सडक खण्डदेखि चेरु माईस्थान जंगलमा सर्लाही हरिवन बस्ने राहुल महतोलाइ लुटपाट गरेको आरोपमा उनिहरु पक्राउ परेका हुन्। पक्राउ पर्नेहरुमा महोत्तरी बर्दिबास-१४ बस्ने २२ वर्षीय निरज साह सोनार, वर्ष २२ को नै गुड्डु भन्ने पप्पु साह, २३ वर्षीय सन्दिप लामा, २० वर्षीय सनम मगर, वडा नं १२ चल्कीटोल बस्ने २२ वर्षका शैलेन्द्र राउत र धनुषा जनकपुर उप(महानगरपालिका ७ जिरोमाईल बस्ने १९ वर्षीय दिपक राउत छन्। पीडितको अनुसार २८ माघमा चेरुस्थित एकान्त जंगलमा पुर्‍याएर सिआइडीको वहानामा नगद, मोबाइल र क्यामरा लुटपाट भएको छ।’ मलाइ उनीहरुले हात-हातमा लठ्ठी लिएर चारैतिरवाट घेरा हाले’, पीडित महतोले भने, ‘उनिहरुले त्यसपछि मोबाइल, नगद र क्यामरा लिए।’ आफूसँग भएको डिएसएलआर क्यामरा चोरी गरेको स्विकार्नु पर्ने नत्र बर्सिबास बजार क्षेत्रवाट चोरी भएका मोटरसाइकलको मुद्दा समेत लगाउने त्रास समेत देखाएको पीडित महतोले बताएका छन्। चोरी भएका मोटरसाइकल बिषयमा माथि खवर नगरी छाडने र त्यसकाे बदलामा २२ हजार ५ सय थप दिनुपर्ने उनीहरुले बताएपछि पैसा लिन घर पठाएको र फर्केर आउदा उनीहरु फरार भएको पीडित महतोले प्रहरीलाई बयान दिएका छन्। उनीहरुले महतोको साथवाट मोबाइल ३ थान, क्यामरा लेन्ससहित र ७५ हजार नगद लिएर फरार भएको प्रहरीलाईउजुरी दिएको प्रहरीले जनाएको छ। उजुरीको आधारमा नै आरोपित उक्त ६ जनालाई बर्दिबास नगर क्षेत्रको विभिन्न ठाउँवाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गौरिडाडाका कार्यालय प्रमुख रवि रावलले जानकारी दिए। आरोपित ६ जनालाई नै जिल्ला अदालत महोत्तरीवाट १० दिनको म्याद थप गरि हिरासतमा नै राखेर अनुसन्धान भैइरहेको प्रहरीले जनाएको छ। बर्सिबास नगर क्षेत्रमा चोरी, मोटरसाइकल चोरी जस्ता क्रियाकलापमा समेत सोही गिरोह हुन सक्ने प्रहरीको अनुमान छ।
छोराबुहारी विदेश पठाए तर शालिकराम घर फर्किएनन् बलेवा। वैदेशिक रोजगारीमा छोराबुहारी नभएको भए शालिकराम आचार्यका लागि देशको राजधानी काठमाडौँ बिरानो सहर हो। पर्यटकीय सहर पोखरामा होटल व्यवसाय गरेर बस्ने उहाँ बिरलै काठमाडौँ सहर आउजाउ गर्थे। बागलुङ नगरपालिका–४ घर भएका आचार्य पोखरा बसेर व्यवसाय गर्न थालेको केही वर्ष भयो। सवारीकै सहायतामा एक-दुई पटक काठमाडौँ पुगेर फर्केको अनुभव थियो उनीसँग। छोराबुहारी जापानमा रहेकाले घर आउँदा जाँदा आचार्यले विमानस्थलसम्म लिन र छोड्न जान थालेका थिए। काठमाडौँको विमानस्थलबाट छोराबुहारी आउँदा जाँदा लिन र पुर्‍याउन जान्थे। केही महिनाअघि जापानबाट घर आउनुभएकी बुहारी लक्ष्मी आचार्य जापान फर्किन थालेपछि आचार्यले बुहारीलाई उडाउन जहाज चडेरै काठमाडौँ पुगे। बुहारी लक्ष्मीसहित सुरक्षित काठमाडौँ पुगेका आचार्यले गत शनिबार बुहारीलाई जापान जाने जहाजमा सुरक्षित हिसाबले पठाए तर आफू भने घर फर्किनन्। शनिबार बुहारी पठाएका आचार्य आइतबार बिहान काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एटिआर ७२ नम्बरको विमान दुर्घटनासँगै अस्ताए। बुहारी लक्ष्मी जहाज चढेपछि जापानमा रहेका जेठा छोरा गणेशलाई जानकारी गराए। पोखरामा रहेका कान्छा छोरा लोकनाथलाई आफू फर्किने टिकटको बन्दोबस्त गर्न लगाए। “कान्छो छोरा लोकनाथले भाउजूलाई पठाएपछि शनिबारै पोखरा आउनुस्, अनलाइन टिकट काटिदिन्छु भनेको रहेछ तर भाइले आज यतै बस्छु भनेपछि आइतबार बिहानको टिकट लिएछ”, मृतक शालिकरामका दाजु डिल्लीप्रसाद आचार्यले भने, “अघिल्लो दिन नै पोखरा फर्किएको भए सायद यस्तो भोग्नुपर्ने थिएन।” बुहारी जापान पुगिनसक्दै विमान दुर्घटनामा भाइ गुमाउनुपरेको आचार्यले सुनाए। मृतक आचार्यका माइला छोरा घनश्याम, कान्छा लोकनाथ र श्रीमती पोखराको नागढुङ्गामा बस्दै आएका छन्। उनले त्यहाँ केही वर्षदेखि बागलुङ कालिका होटल सञ्चालन गरेका थिए। आचार्यको निधनले बागलुङको कुँडुले गाउँ शोकमा डुबेको छ। वैदेशिक रोजगारीमा हिँडेकी बुहारी छोडेर फर्किंदा ज्यान गुमाउने बागलुङका आचार्य एक्ला हुन्। अध्ययन तथा रोजगारीको सिलसिलमा अष्ट्रेलिया हिँडेका छोराबुहारी छोडेर फर्किंदै गरेकी बागलुङ नगरपालिका–१ की सीताकुमारी खड्का पनि घर फर्किएनन्। शनिबार राति खुसीका साथ छोराबुहारीलाई त्रिभुवन विमानस्थलबाट अस्ट्रेलियाका लागि बिदाइको हात हल्लाएकी सीता आइतबार बिहान आफैँ यो संसारबाट बिदा भइन्। आइतबार बिहान सोही विमानस्थलबाट यती एयरलाइन्समा घर फर्कंदै गर्नुभएकी खड्का पोखराको आकाशमा अस्ताए। छोराबुहारीलाई कर्मथलोका लागि बिदाइ गर्न जानुभएकी आमा घर नपुग्दै बीचमै अस्ताएपछि घरपरिवार शोकमा डुबेको छ। छोराबुहारी अस्ट्रेलिया नपुग्दै यता आमाको हवाई दुर्घटनामा परी मृत्यु भएको खबरले परिवार स्तब्ध भएको मृतकका भान्जा सूर्य लामिछानेले बताए। खड्का पोखरामा रहेकी छोरी अनिता खड्काले अनलाइन टिकट लिएपछि सोही विमानबाट पोखरा आउँदै थिए। आमाको मृत्युको खबर सुनेपछि छोरी अनिता बेहोस भएर अस्पताल भर्ना गरिएको भान्जा सूर्यले बताए। “माइजू, भाइ र बुहारीलाई अस्ट्रेलियाका लागि बिदाइ गरेर आइतबार बिहान विमानबाट घर फर्कंदै हुनुहुन्थ्यो”, लामिछानेले भने, “उता भाइ बुहारी अस्ट्रेलिया पुगिसकेका छैनन्। यता माइजूको यस्तो खबरले सबैलाई स्तब्ध र दुःखी बनाएको छ।” उहाँहरूसँगै बागलुङको बडिगाड गाउँपालिका स्थायी घर भएकी कलाकार निरा छन्त्याल र गलकोट नगरपालिका–२ नरेठाँटी घर भएकी बन्दना सुनारको पनि निधन भएको छ। छन्त्याल पोखरामा सञ्चालित एक कार्यक्रममा प्रस्तुतिका लागि आउँदै थिइन् भने सुनार अमेरिकाबाट काठमाडौँमा उपचार गराइरहेकी हजुरआमा भेट्न आएका थिए। नेपाल आएका बेला जन्मथलो पुगेर फर्किने सुनारको सपना अधुरै रह्यो। रासस
हवाई सेवालाई सुरक्षित बनाउन आयोगको आग्रह काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले हवाई दुर्घटनाबाट नागरिकले ज्यान गुमाउनु परिरहेको अवस्थाप्रति संवेदनशील बन्दै हवाई सेवालाई सुरक्षित र भरपर्दो बनाउन आग्रह गरेको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनद्वारा निर्धारित मापदण्ड एवं सिफारिसको कार्यान्वयनमा जोड दिन आयोगले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलका अनुसार घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन र हवाई दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारलाई उपयुक्त राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न÷गराउन र सहजरूपमा बीमा रकम उपलब्ध गराउन आयोगले आग्रह गरेको छ । यही माघ १ गते काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको चालकदलसहित ७२ जना सवार जहाज कास्कीको पोखरामा दुर्घटना हुँदा ७० जनाको मृत्यु भएको र दुई जनाको अवस्था अझै अज्ञात रहेको घटनाप्रति आयोग गहिरो दुःख व्यक्त गरेको छ । आयोगले यस सङ्कटको घडीमा शोक सन्तप्त परिवारजनप्रति धैर्य धारण गर्ने शक्ति मिलोस् भनी कामना गर्दै समवेदना प्रकट गरेको छ । हवाई दुर्घटनाका कारण व्यक्तिको जीवनको अधिकार गुम्न गएका घटनाहरूको आयोगले विभिन्न माध्यमबाट अनुगमन गर्दै आइरहेको छ । मानवीय क्षतिको दृष्टिकोणले उक्त दुर्घटना नेपालको आन्तरिक उडानमा हालसम्मकै सबैभन्दा ठूलो रहेको पाइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ मा हवाई उडानलाई नियमन गर्ने व्यवस्था छ । हवाई नीति, २०६३ ले उडान सुरक्षा एवं हवाई सुरक्षामा सुदृढीकरण गरी अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनद्वारा निर्धारण गरिएको मापदण्ड तथा सिफारिसको कार्यान्वयनलाई उच्च प्राथमिकतामा राख्दै आवश्यक कानूनी र संस्थागत व्यवस्था गर्ने उल्लेख गरेको छ । हवाई दुर्घटनाका सम्बन्धमा विभिन्न छानबिन समितिबाट प्राप्त सिफारिस कार्यान्वनलाई प्राथमिकता नदिएकोतर्फ दुर्घटना बढिरहेको देखिएको छ भने अर्कोतर्फ पुराना विमान खरिद र सञ्चालनमा प्रभावकारी नियमन हुन नसकेको आयोगले जनाएको छ ।
विमान दुर्घटनाप्रति चिनियाँ राष्ट्रपतिद्वारा समवेदना व्यक्त बेइजिङ । चिनियाँ राष्ट्रपति सी चिनफिङले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई पाेखरामा भएको विमान दुर्घटनाप्रति समवेदना सन्देश पठाएका छन् । आफ्नो सन्देशमा राष्ट्रपति सीले माघ १ गते पोखरामा भएको भएको विमान दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । दुर्घटनामा आफन्त गुमाउँने शोक सन्तप्त परिवारप्रति उनले चिनियाँ सरकार र जनताको तर्फबाट गहिरो समवेदना समेत व्यक्त गरेका छन्। मध्य नेपालको पर्यटकीय शहर पोखरामा पाँच जना भारतीयसहित ७२ यात्रु बोकेको यति एयरलाइन्सको यात्रुवाहक विमान खोलामा खस्दा बिमानमा सवार सबैको मृत्यु भएको थियो ।
क्रोएसिया जान लागेका २१ जना पक्राउ काठमाडौं । क्रोएसिया जान लागेका २१ जना त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । प्रहरीका अनुसार दुबई हुँदै क्रोएसिया जान लागेका उनीहरुको साथबाट राहदानीमा दरपिट नगरेको जनही २ हजार देखि ३ हजार युरो फेला परेपछि पक्राउ परेका हुन् । सोधपुछका क्रममा पदमबहादुर विश्वकर्माले पठाएको बयान दिएपछि प्रहरीले उनलाई पनि विमानस्थालको गेट बाहिर पक्राउ गरेको छ । उनको साथबाट १ लाख २० हजार रुपैयाँ बरामद भएको छ ।
सप्तरीमा चिसोले कठ्यांग्रिएर मृत्यु हुनेको संख्या तीन पुग्यो सुधा देव सप्तरी । यसपालि चिसोले कठ्यांग्रिएर सप्तरीमा मृत्यु हुनेको संख्या तीन पुगेको छ । तिलाठी कोइलाडी गाउँपालिका, अग्निसाइर कृष्णासवन गाउँपालिका र विष्णुपुर गाउँपालिकाका एक–एक जना गरी तीन जनाको चिसोले कठ्यांग्रिएर मृत्यु भएको हो । पछिल्लोपटक विष्णुपुर गाउँपालिका(२ जमुनी टोलका ४७ बर्षीय प्रेम यादवको जाडोले कठ्यांग्रिएर मृत्यु भएको प्रहरीले जनाएको छ । यसैगरी अग्निसाइर कृष्णासवरन गाउँपालिका वडा नम्बर ४ का ६५ वर्षीय कप्लेश्वर सदाको पुस २५ गते जाडोले कठ्यांग्रिएर मृत्यु भएको थियो । आफ्नै घरमा साँझमा सुतेको समयमा जाडोले कट्यांग्रिएर मृत्यु भएको स्थानीय ललकु सदाले बताए । उनको न्यानो ओढ्ने लुगाको अभावमा जाडोले कठ्यांग्रिएर मृत्यु भएको उनले जानकारी दिए । यसअघि शितलहर बढेसँगै चिसोले गत पुस २१ गते राती तिलाठी कोइलाडी गाउँपालिका ४ का ४५ वर्षीय देवु सदाको मृत्यु भएको थियो । साँझको खाना खाएर सुतेका बुवाको राती जाडोले कठ्यांग्रिएर मृत्यु भएको स्वर्गीय देवुको छोरा सकलदेव सदाले बताए । जाडोले कठ्यांग्रिएर तीन जनाको ज्यान गएपनि प्रहरीले १ जनाको मात्र मृत्यु भएको पुष्टि गरेको छ । विष्णुपुर गाउँपालिका २ का यादवको जाडोले कठ्यांग्रिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यसवर्ष जाडोले ज्यान गएको तथ्यांकमा एक जना मात्र रहेको सप्तरीका प्रहरी प्रमुख एसपी अविनारायण काफ्ले बताए । जाडोले कठ्यांग्रिएर अन्य ठाउँमा ज्यान गुमाएको हुन सक्ने भन्दै एसपी काफ्लेले प्रहरीमा मृत्युको कारणको आधार र निवेदन कतैबाट नआएकोको बताए । सप्तरीमा प्रत्येक वर्ष चिसोले कठ्यांग्रिएर सर्वसाधारणको मृत्यु भएको छ ।
उपप्रधानमन्त्री श्रेष्ठद्वारा नारायणगढ–बुटवल सडकखण्डको अनुगमन नवलपुर । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले निर्माणमा ढिलाइ भइरहेको पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्डको नवलपुर खण्डमा अनुगमन गरेका छन् । उनले आज दिउँसो सडकखण्डको गैँडाकोटदेखि कावासोतीसम्मको सडकखण्डको अवलोकन गरेका हुन् । मन्त्री श्रेष्ठले सडक विस्तारको काम भइरहेको गैँडाकोट तथा कावासोतीको विभिन्न क्षेत्रमा स्थलगत अनुमगन समेत गरेका छन् । उनले सडक अनुगमनका क्रममा स्थानीयवासीसँग छलफल गर्दै सडक विस्तारको काम चाँडो हुने आश्वस्त पारे । “यस सरकारको एकमात्रै एजेण्डा आर्थिक वृद्धिदर हो”, उनले भने, “त्यसका लागि सरकारको प्राथमिकता पूर्वाधार निर्माण रहेको छ ।” गैँडाकोट–११ भेँडाबारीका स्थानीयवासीसँग छलफल गर्दै स्थानीयवासीको समस्या आफूले बुझेको भन्दै उनले अहिले स्थलगत अवलोकनबाट थप समस्याबारे आफू जानकार रहेको बताए । सडक विस्तारको काममा ढिलाइ हुँदा स्थानीयवासीले आफूहरूको स्वास्थ्यमा समस्या देखिन थालेको गुनासो गरेका थिए । सडक विस्तारका लागि बिजुलीको पोल सार्नुपर्नेमा पोल झारेको लामो समय बितिसक्दासमेत पोल नसारिएको गुनासो गरेका थिए । सो क्रममा नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको पूर्वखण्ड प्रमुख इन्जिनियर रमेश दिष्टीले गैँडाकोटको केही ठाउँमा पोल सार्न ढिलाइ भए पनि अब काम तीव्र गतिमा हुने बताए । सडक विस्तारका लागि सबै अवरोध हटिसेकाले अब काम तीव्र गतिमा बढ्ने दिष्टीको भनाइ थियो ।
कार्यभार सम्हालेलगत्तै नवनियुक्त स्वास्थ्यमन्त्री गिरी कान्ति बाल अस्पतालकाे अनुगमनमा काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यभार सम्हालेलगत्तै नवनियुक्त स्वास्थ्यमन्त्री पदम गिरी कान्ति बाल अस्पतालको स्थलगत अनुगमनमा गएका छन् । बालबालिकाको उपचार गर्ने सरकारी र एकमात्रै केन्द्रीय अस्पतालको उपचार सेवाबारे बुझ्न उनी मन्त्री बनेको पहिलो दिन नै कान्ति बाल अस्पताल पुगेका हुन् । अनुगमनका क्रममा उनले अस्पतालको इमरजेन्सी, आईयीयू, पिआईसीयू, अंकोलोजी लगायतका वार्डहरुको अवलोकन गरेका थिए । यस्तै बिरामी कुरुवा कक्ष, बिरामी र कुरुवाहरुले प्रयोग गर्ने शौचालय लगायतको समेत निरीक्षण गरेका थिए । सोही क्रममा उनले बिरामीका आफन्तसंग अस्पतालको सेवाको बारेमा समेत बुझ्ने प्रयास गरेका थिए । ‘आम जनताका छोराछोरीले उपचार पाउने केन्द्रीय बाल अस्पतालको बारेमा पहिले देखि नै धेरै गुनासाहरु भएको सुनेको थिएँ । पहिलो सुरुवात कान्तिबाटै गरौँ भन्ने लाग्यो र आएँ,’ निरीक्षण पछि उनले भने सो क्रममा उनले अस्पतालमा बिरामी कुरुवाहरुले प्रयोग गर्ने शौचालय साह्रै नै फोहर भएको भन्दै त्यसलाई तत्काल सुधार गर्न निर्देशन दिए । यस्तै बिरामी कुरुवाहरुका लागि बस्ने व्यवस्था मिलाउन समेत निर्देशन दिए ।
कर्णाली प्रदेशसभाको उपसभामुख बुधबार चयन गरिने सुर्खेत । कर्णाली प्रदेशसभाको उपसभामुख बुधबार चयन गरिने भएको छ । मंगलबार बसेको प्रदेशसभा बैठकले उपसभामुख चयनका लागि निर्वाचनको मिति बुधबार दिउँसो १ बजेका लागि तोकेको छ । कर्णाली प्रदेशसभा नियमावली, २०७९ को नियम (९) बमोजिम उपसभामुख चयन गर्न लागिएको हो। बुधबार दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकले उपसभामुख चयन भएको घोषणा गर्नेछ ।
मधेस प्रदेशः आज सभामुख निर्वाचन र मुख्यमन्त्रीले विश्वासको मत लिने जनकपुरधाम। मधेस प्रदेशसभाको आज बस्ने बैठकमा सभामुखको निर्वाचन र मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने कार्यसूची रहेको छ। नवनिर्वाचित प्रदेशसभाको आज १ बजे बस्ने दोस्रो बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत लिने र सभामुखका लागि उम्मेदवारी दिएका प्रस्तावित नामहरू निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ। गत बुधबार मुख्यमन्त्री नियुक्त भएका यादवले शुक्रबार (पुस २९ गते) पद तथा गोपनीयताको शपथ लिएका थिए भने सभामुखमा सत्ता गठबन्धनका तर्फबाट नेकपा (एमाले)का रामचन्द्र मण्डल र नेपाली कांग्रेसका तर्फबाट जङ्गीलाल राय प्रतिस्पर्धामा छन्। एक सय सात सदस्यीय मधेस प्रदेशसभामा सरकार गठनका लागि ५४ मत आवश्यक पर्छ। प्रदेशसभामा रहेका १० राजनीतिक दलमध्ये नेकपा (एमाले), जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), राप्रपा र नेपाल सङ्घीय समाजवादी पार्टी (एक–एक) सहित दुई स्वतन्त्र गरी ६३ जनाको समर्थन छ। यादवलाई नौ जना प्रदेशसभा सदस्य रहेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले पनि समर्थन गर्ने तयारी गरेकाले त्यो सङ्ख्या बढेर ७२ पुग्ने जसपाको दाबी छ।
कोभिड अस्पतालले निरन्तरता पाउँदा स्थानीय लाभान्वित खोटाङ। खोटाङको रावाबेँसी गाउँपालिकामा कोभिड अस्पतालले निरन्तरता पाउँदा स्थानीय लाभान्वित भएका छन्। कोभिड–१९ को महामारीका बेला स्थापना गरिएको अस्थायी कोभिड अस्पताललाई पाँच शैयाको अस्पतालका रुपमा निरन्तरता दिइएपछि गाउँपालिकाका सर्वसाधारण लाभान्वित भएका हुन्। कुभिन्डेको हरमटारमा एक जना एमबिबिएस डाक्टर सहितको स्वास्थ्य सेवाले निरन्तरता पाएपछि पालिकाबासी सामान्य तथा जटिल किसिमका स्वास्थ्य समस्या भएको बेला जिल्ला अस्पताल दिक्तेल पुग्नुपर्ने वाध्यताबाट मुक्त छन्। अस्पतालबाट चौविस घण्टा इमरजेन्सी, ओपिडि, प्रसुती, भिडियो एक्स–रे, इसिजी लगायतका स्वास्थ्य सेवा उपलव्ध गराइएको छ। गाउँपालिकाको कुभिन्डे, हौंचुर, दुबेकोल, डुम्रेधारापानी लगायतका वडाका स्थानीयले अस्पतालबाट नियमित तथा आकस्मिक स्वास्थ्य सेवा लिइरहेका छन्। अस्पतालमा दैनिक २० जनाको हाराहारीमा बिरामी आउने गरेको डा. मनोजकुमार शाहले बताए। कोभिड–१९ को महामारी रोकथाम तथा न्यूनीकरणका लागि २०७७ सालमा कर्मचारी आवास भवनमा अस्थायी कोभिड अस्पताल स्थापना गरिएको थियो। कोरोना महामारीको संक्रमण सामान्य भएसँगै सवैजसो अस्थायी कोभिड अस्पताल बन्द गरिए पनि रावाबेँसी गाउँपालिकाले भने पाँच शैयाको अस्पतालका रुपमा निरन्तरता दिएको हो। गाउँपालिकाको केन्द्रमा रहेको अस्पतालबाट गर्भवतीको भिडियो एक्स–रे र रगत जाँच निःशुल्क उपलव्ध गराउने गरिएको छ । ज्येष्ठ नागरिकलाई पनि भिडियो एक्स–रे सेवामा छुटको व्यवस्था छ। अस्पतालको फार्मेसीबाट अधिकतम औषधि निःशुल्क उपलव्ध गराइएको छ। अस्पतालका लागि एक थान एक्सरे मेसिन समेत ल्याइसकिएको छ। आसपासका स्वास्थ्यचौकीबाट रेफर भएका बिरामी सोही अस्पतालमा आउने गरेका छन्। अप्रेसन गर्नुपर्ने जटिल किसिमका बिरामीलाई जिल्ला अस्पताल वा अन्यत्र रेफर गर्ने गरिएको डा. शाहले बताए। स्वास्थ्यउपचारका लागि अन्यत्र जान नसक्ने निम्न आर्थिक अवस्थाका नागरिकलाई लक्ष्यित गर्दै कोभिड अस्पताललाई पाँच शैयाको अस्पतालका रुपमा निरन्तरता दिइएको गाउँपालिका अध्यक्ष फटिककुमार श्रेष्ठले बताए। कोभिडको महामारीका समयमा पनि अस्पतालमा कोभिड संक्रमितभन्दा पनि अन्य विरामीले बढी सेवा लिएका थिए। अस्पतालका लागि डा. शाह, ल्याव टेक्नेसियन उमेशकुमार शाह, स्टाफ नर्स सिर्जना तामाङ र कार्यालय सहयोगी सुरेन्द्र भुजेललाई गाउँपालिकाले आन्तरिक श्रोतबाट सेवा सुविधाको व्यवस्था गरेको छ। दरबन्दीमै कार्यरत एचए भोजराज अधिकारी र अनमी बिनाकुमारी शाहलाई काजमा अस्पतालमा खटाइएको छ। गाउँपालिकाका लागि खार्पामा १५ शैयाको अस्पताल बनिरहेको छ । १५ शैयाको अस्पताल बनेसम्मका लागि पाँच शैयाको अस्पताल सञ्चालन गर्ने गाउँपालिकाले जनाएको छ।
पर्यटकीय गन्तव्य बन्दै लुकुम गाउँ ढोरपाटन। अग्लो पहाड। पहाडको फेदमा छ लुकुम गाउँ। बाक्लो बस्ती, आफ्नै भाषा र रीतिरिवाज यस गाउँको पहिचान हो। छेउमा रहेका अग्ला धुपीका रुखहरूले गाउँको सुन्दरतालाई थप बढाएको छ। एक दशक अगाडिसम्म लुकुम गाउँ सुनसान थियो । जब मध्यपहाडी लोकमार्गले जोडियो, तब गाउँमा विकासका लहर छाउनुका साथै पर्यटकीय गन्तव्य बन्न थाल्यो। लोकमार्गले गाउँलाई जोडेपछि दुर्गम ठाउँ सुगममा परिणत त हुने नै भयो, त्यसमाथि गाउँको सुन्दरता र परम्परा आगन्तुकका लागि महत्वपूर्ण गन्तव्यसमेत बन्यो। लोकमार्गले नजोडिँदा ओझेलिएको लुकुम गाउँ अहिले एकाएक चर्चामा आएको छ। सडकले गाउँलाई पर्यटकीय गन्तव्य बनाउनुका साथै स्थानीयवासीलाई सहजतासमेत प्रदान गरेको छ। पूर्वीरुकुमको भूमे गाउँपालिका-१ मा पर्ने लुकुम गाउँमा अहिले दैनिक सयौँ आन्तरिक पर्यटक पुग्ने गर्दछन्। तीन वर्ष अगाडि लोकमार्ग कालोपत्र भएपछि लुकुम गाउँ धेरैको रोजाइमा परेको छ। सडकको सहज पहुँच तथा रुकुम र बागलुङबाट नजिक पर्ने हुँदा बागलुङ, पूर्वीरुकुम तथा पश्चिम रुकुमबाट दैनिक सयौँ पर्यटक लुकुम गाउँमा घुम्न आउने गरेको स्थानीय श्रीप्रसाद पुनमगरले बताए। पुनमगर भन्छन्, “सडक आएपछि त निकै सजिलो भयो, पहिले यहाँ यही गाउँमात्रै थियो, अहिले तल बजार बन्दै छ, बाटो पनि राम्रो बनेको छ, अहिले धेरै ठाउँबाट मान्छे घुम्न आउँछन्, हाम्रो पुरानो गाउँमा डुल्ने, घुम्ने र फोटो खिचेर जान्छन्, यो गाउँ हाम्रो पुर्खादेखि नै यस्तै थियो, यहाँ धेरैजसो पुराना घरमात्रै छन्, यही घर अहिले धेरैले मन पराए।” लोकमार्गले जोडिएपछि गाउँले मुहार फेरेको पुनमगर बताउँछन्। उनले पहिले आफूहरू नयाँ ठाउँमा सामान किनमेल गर्न पुगेको भन्दै अहिले धेरै मान्छे आफ्नै गाउँमा घुम्दै आउँदा खुसी लागेको बताए। गाउँलाई पर्यटनसँग जोड्न लोकमार्गले ठूलो भूमिका खेलेको उनको भनाइ छ। “पहिले हामीहरू नुन, तेल र चामल ल्याउन एक साता लगाएर दाङ तुल्सीपुर पुग्थ्यौँ, त्यतिबेला त्यो ठाउँमा जाँदा यहाँका गाउँलेलाई धेरै समस्या थियो, तर नयाँ ठाउँ देख्दा रमाइलो लाग्थ्यो”, पुनमगरले भने, “अहिले बाहिरी मान्छे हाम्रो गाउँमा आउँदा रमाइलो लाग्यो भन्छन्, केही मान्छेहरू त एक-दुई दिन बसेर घुमेर जान्छन्।” स्थानीय सुनकुमारी पुनमगर सडकले गाउँलेको जनजीवनमा ठूलो परिवर्तन ल्याएको बताउँछन्। पुरानो गाउँ अहिलेका युवायुवतीका लागि आकर्षक गन्तव्य बनेको भन्दै गाउँ घुम्न आउनेले स्थानीयस्तरमा उत्पादन भएका सामान किनेर लैजाने गर्दा गाउँलेको आयआर्जनमा टेवा पुगेको उनको भनाइ छ। “यो बाटो नआउँदा गाउँमा बाहिरी मान्छे कमै आउँथे, यहाँका मान्छे सामान किनेमले गर्न, केटाकेटी पढ्न र व्यापार व्यवसाय गर्न दाङ जान्थे, गाउँमा उत्पादन भएका सिमी, आलु बाहिर जान पाउँदैनथ्यो”, उनले भने, “अहिले बाहिरबाट घुम्न आउनेले पनि सिमी किनेर लैजान्छन्, अरु ठाउँको भन्दा स्वादिलो हुन्छ भन्छन्, गाउँमा बुनेका कोक्रो, डालो, नाङ्लोसमेत किनेर लान्छन्।” अर्का स्थानीय आसबहादुर विकले गाउँबाट बाहिरिनेको सङ्ख्यामा कमी आएको बताए। उनले लोकमार्गले गाउँ नजोडिँदा गाउँमा बूढापाकामात्रै हुने गरेको स्मरण गर्दै अहिले बजार गएर व्यापार व्यवसाय गर्ने पनि गाउँमै फर्किएको बताए। उनले गाउँलेको मुख्य पेसा पशुपालन र कृषि भएको भन्दै आफूहरूका कामलाई पनि बाहिरबाट आउने मान्छेले निकै चासो दिएर हेर्ने तथा सिक्ने गरेको बताए। गाउँलाई अझ थप व्यवस्थित र सरसफाइमा ध्यान दिनसके धेरै पर्यटक भित्र्याउन सकिने विकको भनाइ छ। उनले भने, “यो सडकमा दैनिक धेरै गाडी गुड्छन्, त्यसमध्ये अधिकांश गाडी यही गाउँ अगाडि रोकिएर फोटो खिच्ने, गाउँ घुम्ने गर्छन्, उनीहरूलाई हाम्रो काम, रहनसहन पनि निकै मन पर्दोरहेछ, धेरैजसोले घरमा आएर तान बनाइ, रौँ प्रशोधन गरेको हेर्छन्, कोही त बारीमा पनि पुगेर काम गरेको हेर्ने गर्छन्।” बागलुङबाट घुम्न गएका मिलन बुढामगरले लुकुम गाउँ निकै रमाइलो भएको हुँदा आफू चारपटक घुम्न गएको बताउँछन्। एकैनासले चिटिक्क मिलेर बनेका घर र यहाँका स्थानीयगवासीको मौलिक संस्कृति र रहनसहन मनपर्ने हुँदा आफू पटक–पटक लुकुम गाउँ घुम्न जाने गरेको बताए। अहिले लोकमार्ग कालोपत्र भएपछि यहाँ आउन धेरै समय नलाग्ने बुढामगर बताउँछन्। “पहिले बागलुङबाट रुकुम कमै मान्छेहरू पुग्थे, बाटो सहज थिएन, पैदल हिँडेर पुग्न पनि गाह्रै थियो, अहिले साढे दुई घण्टामै निसीखोलाबाट लुकुम आइन्छ, बिदा भयो भने घुम्न आउने ठाउँ नै लुकुम हो मेरो”, उनले भने, “यो गाउँ आन्तरिक पर्यटकका लागि मात्रै होइन, विदेशीका लागि पनि निकै आकर्षक बन्न सक्छ, यहाँका स्थानीयवासीले विदेशी आउने वातावरण मिलाउन सके यो ठाउँ देशकै उत्कृष्ट गन्तव्य बन्न सक्छ जस्तो लाग्छ।” रासस
झापामा फस्टाउँदै जडीबुटी खेती झापा। अर्जुनधाराका डम्बर चौधरीले गत वर्ष पाँच बिघा जग्गामा पचौली नामक जडीबुटीको खेती थालनी गरे। रोपेको तीन महिनापछि यसको बुट्यानबाट घाँस काटेर बिक्री गर्न थाले। यसको काँचो घाँस प्रतिकेजी रु २० र सुकेको घाँस रु १०० मा बिक्री हुने भएकाले पचौली खेतीको आम्दानीबाट सन्तुष्ट रहेको उनले बताए। मेचीनगर-१४ दुहागढीमा विसं २०७० मा कुलायन नेचुरल हर्बल प्रालि स्थापना भएपछि चौधरीले जस्तै मेचीनगर, अर्जुनधारा, भद्रपुर र बुद्धशान्ति पालिकाका कृषक तथा सामुदायिक वनहरूले पचौली र लेमनग्रासको खेती ठूलो मात्रामा थालेका हुन्। कुलायन नेचुरल हर्बल उद्योग आफैँले पनि ५० बिघा जग्गा भाडामा लिएर उद्योग सञ्चालन र जडीबुटी खेती गरिरहेको छ। कालो हर्दी, युकिलिप्टस (मसला), तेजपत्ता, नगरमोथे, बोझो, भेटिबर, लेमनग्रास, सिट्रोनेला, पामरोजा, पचौलीलगायतका जडीबुटीजन्य वनस्पतिलाई प्रशोधन गरेर उद्योगले सुगन्धित तेल उत्पादन गर्दै आएको छ। उद्योगले उत्पादन गरेको सुगन्धित तेल सिधै युरोप र अमेरिका निर्यात हुन्छ। गत वर्ष सरकारले विदेशी मुद्रा भित्र्याउन योगदान पुर्‍याएवापत उद्योगलाई सम्मान गरेको थियो। उद्योग आफैँले सुरुमा विद्यालयको खाली जग्गा भाडामा लिएर जडीबुटी खेती थालेको थियो। उद्योगले स्थानीय कृषकहरूलाई समेत आम्दानी लिन हौसला बढाएपछि मेचीनगरको वडा नंं १०, १३, १४ र १५ मा धानखेत मासेर किसानले जडीबुटीका बिरुवा रोप्न थालेका हुन्। “थोरै जमिनमा थोरै लगानी गर्दा धेरै आम्दानी गर्न सकिन्छ भन्ने थाहा पाएपछि मैले पनि सुरुमा दुई बिघामा पचौली रोपेँ”, अर्जुनधाराका डम्बर चौधरीले भने, “दुहागढीको हर्बल उद्योगले पचौलीको घाँस किनिदिन्छ। आयस्ता राम्रो हुन थालेकाले खेती विस्तार गरेर पाँच बिघामा लगाएको छु।” सामुदायिक वनमा खेती विस्तार झापाको अर्जुनधाराकै जुकेखाडी सामुदायिक वन र भद्रपुरको कमलधाप सामुदायिक वनले जडीबुटी खेतीमा लगानी गरेका छन्। बीस बिघाबाट सुरु भएको यस्तो खेती अहिले पाँच सय बिघामा विस्तार भइसकेको छ। जुकेखाडीले १० बिघा र कमलधापले एक सय बिघा वन क्षेत्रमा लेमनग्रासको खेती गरेको छ। लेमनग्रासको घाँस काटेर उद्योगमा बिक्री गरिँदै आएको छ। जसलाई मेसिनमा पेलेर सुगन्धित तेल उत्पादन गरिन्छ। मेचीनगर-१४ कै बाल सुबोधिनी माध्यमिक विद्यालयको बाँझो रहेको २० बिघा जग्गा वार्षिक रु एक लाख ५० हजार बुझाउने शर्तबन्धमा ४० वर्षका लागि उद्योगले भाडामा लिएर ११ वर्षदेखि खेती गर्दै आएको छ। जहाँ मसाला, तेजपत्ता, कालो हर्दी, भेटिबर, नगरमोथे, सिट्रोनेलालगायतका जडीबुटीका रुख र घाँसको जङगल हुर्किसकेको छ। अरु एक सय बिघा जग्गा खेती विस्तारका लागि खोजी गरिरहेको उद्योगका सञ्चालक भरत बस्नेतले बताए। “सुरुमा हामीले जग्गा लिजमा लिएर जडीबुटी रोपण गर्‍यौं, अहिले किसानहरू आफैं म पनि खेती लगाउँछु भन्दै आउन थाल्नुभएको छ”, उद्योगी बस्नेतले भने, “किसानहरूले जति धेरै उत्पादन गरेता पनि किनिदिने ग्यारेन्टी उद्योगका तर्फबाट गरिदिएका छौँ। खेतीका लागि प्राविधिक र बिरुवा सहयोगसमेत गरिरहेका छौँ।” नौ वर्षमा झापाका ६० जनाभन्दा बढी स्थानीय किसान र आधा दर्जन सामुदायिक वन जडीबुटी खेती अभियानमा जोडिएका र पाँच सय बिघाभन्दा बढी जग्गामा यसको खेती फस्टाइरहेको उनले जानकारी दिनुए। महँगो अगरउडको खेतीमा लगानी हर्बल उद्योगले संसारकै महँगो मानिएको अगरउड (सुगन्धित काठ)को व्यावसायिक उत्पादन गर्ने महत्वाकाङ्क्षी परियोजना सुरु गरेको छ। सञ्चालक बस्नेतका अनुसार हाल उद्योगले दुई हजारवटा सेतोचन्दन (सुगन्धित काठ)को बिरुवा रोपेर हुर्काइरहेको छ। यसले उत्पादन दिन १५ वर्ष कुर्नुपर्छ। “सेतो चन्दन र अगरउडको उत्पादन गर्न सकियो भने महँगोमा अन्तर्राष्ट्रिय बजारमा बेच्न सकिन्छ भनेर हामीले इच्छुक किसानलाई प्रोत्साहित गरिरहेका छौँ”, उद्योगी बस्नेतले भने। उद्योगले किसानलाई बिक्री वितरण गर्नका लागि हाल आफ्नो नर्सरीमा एक लाख अगरउडका बिरुवा हुर्काएको छ। किसानलाई ती बिरुवा दिएर उत्पादन खरिद गर्ने उद्योगले योजना बनाएको छ। उनका अनुसार भविष्यमा उद्योग आफैंले अगरउडको तेल निकाल्ने अलग्गै कारखाना स्थापना गर्ने सोच बनाएको छ। अगरउडको तेल अन्तर्राष्ट्रिय बजारमा रु तीन लाख प्रतिलिटरका दरले अहिले बिक्री भइरहेको छ। उद्योगमा हाल विभिन्न जडीबुटी पेलेर तेल उत्पादन हुँदै आएको छ। छवटा भेसल भएको उद्योगले आठ घण्टामा एउटा भेसलमा जडीबुटीजन्य काँचो घाँस पाँच सय केजी र सुक्खा घाँस तीन सय केजी प्रशोधन गर्दछ। “सुगन्धित साबुन र अरु केही हर्बल सामान उत्पादकले अलिअलि खरिद गरेर लैजानुहुन्छ”, उद्योगी बस्नेत भन्छन्, “हामीले उत्पादन गरेको अधिकांश तेल युरोप र अमेरिका निर्यात हुन्छ । विदेशी मुद्रा भित्रिने भएकाले मुलुकलाई पनि फाइदा निकै पुगेको छ।” उद्योगले वार्षिक तीन हजार लिटर मसालाको तेल, दुई हजार पाँच सय लिटर लेमनग्रासको तेल, दुई हजार पाँच सय लिटर सिट्रोनेलाको तेल, एक हजार दुई सय लिटर पामरोजाको तेल र आठ सय केजी पचौलीको तेल उत्पादन गर्दै आएको उहाँले जानकारी दिए। कारखाना र नर्सरीमा गरेर उद्योगमा ५० जनाले प्रत्यक्ष रोजगारी पाएका छन्। नेपालको आर्थिक समृद्धि हासिल गर्नका लागि जडीबुटी उद्योगको विकास र विस्तार अनिवार्य रहेको धारणा व्यक्त गर्छन् ग्लोबल एग्रो एण्ड नर्सरी प्रालिका सञ्चालक दीपक नेपाल। उनले यो उद्योगअन्तर्गत हाल पाँच बिघामा जडीबुटीको नर्सरी व्यवसाय सुरु गरेका छन्। बिरुवा सहजै किन्न पाइने र उत्पादनले अरु बालीभन्दा तेब्बर आम्दानी दिने भएकाले झापामा जडीबुटीको खेतीतर्फ मध्यम किसान आकर्षित हुँदै गएको उनको भनाइ छ। पाँच बिघाभन्दा धेरै जग्गा भएका किसानले अन्नबाली लगाउन जनशक्ति र लागत धेरै पर्ने भएकाले जडीबुटी खेतीमा धेरै फाइदा देखेको उनी बताउँछन्। वातावरणलाई हरियाली राख्ने, जीवनस्तरमा सुधार आउने र राष्ट्रिय समृद्धिको लक्ष्य हासिल गर्नका लागि टेवा पुर्‍याउने क्षेत्र जडीबुटी भएको जनाउँदै उनले यसमा सङ्घ, प्रदेश र स्थानीय तहको सरकारले प्रोत्साहन दिनुपर्ने सुझाव दिए।
लुम्बिनी उपसभामुखका लागि आज चुनाव, नागरिक उन्मुक्ति पनि मैदानमा दाङ। लुम्बिनी प्रदेशको उपसभामुखका लागि आज मंगलबार निर्वाचन हुँदैछ। सभामुखमा माओवादी केन्द्रका तुलाराम घर्ती सोमबार नै निर्विरोध भइसकेका छन्। उपसभामुखका लागि आज हुने चुनावका लागि तीन जनाको उम्मेदवारी दर्ता भएको छ। लुम्बिनी प्रदेशसभाका सचिव दुर्लभकुमार पुनका अनुसार उपसभामुखमा राप्रपाबाट मेनुका खाँण केसी, कांग्रेसका विश्वप्रेम पाठक र नागरिक उन्मुक्ति पार्टीका निर्मलादेवी चौधरीको उम्मेदवारी दर्ता भएको छ। सत्ता गठबन्धनले उपसभामुखमा राप्रपाका केसीलाई समर्थन गर्ने निर्णय गरे पनि नागरिक उन्मुक्तिले छुट्टै उम्मेदवार सारेको छ। गठबन्धनमा लुम्बिनी प्रदेशमा मुख्यमन्त्री एमाले, सभामुख माओवादी र उपसभामुख राप्रपाले लिने गरी सहमति भएको थियो। नागरिक उन्मुक्तिले प्रदेश सरकारमा कम्तीमा दुई मन्त्रालयमा दावी गर्दै आएको छ। गठबन्धनमा एमालेका २९, माओवादीका १०, राप्रपाका ४ तथा जसपा, लोसपा र जनमतका ३-३ प्रदेश सभा सदस्य छन् । दुई स्वतन्त्र सांसद छन् । ८७ सदस्यीय प्रदेश सभामा नागरिक उन्मुक्तिबाहेक पनि सत्तापक्षीय गठबन्धनमा ५१ सदस्य छन् ।
विमान दुर्घटनामा बुढेसकालको सहारा खोसिएपछि… रुपन्देही । बुढेसकालको एकमात्र सहारा पोखरा विमान दुर्घटनामा गुमाउनुपरेपछि तिलोत्तमा–४ डिङ्गरनगरका पदमबहादुर बुचामगर र सूर्यकुमारी बुचा सम्हालिन सकेका छैनन् । पोखरास्थित ब्रिटिस वेलफेयर अस्पतालमा कार्यरत छोरा ३६ वर्षीय डा गणेश थापाको आइतबार विमान दुर्घटनामा निधन भएपछि डिङ्गरनगरस्थित बुचा दम्पतीको घर र सिङ्गो तिलोत्तमा शोकमा छ । आफ्नी श्रीमती र छोरीलाई भेटेर हिजो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यति एयरलाइन्सको जहाजबाट उडेका डा थापा पोखरा विमानस्थलमा ओर्लन नपाउँदै दुर्घटनामा परे । चिकित्सकसमेत रहेकी श्रीमती रोनी महर्जन र दुई वर्षीय छोरीलाई काठमाडौँमा भटेर फर्किएका थापाको यो नै परिवारसँगको अन्तिम भेट भयो । बिदाको समयमा श्रीमती र छोरीलाई भेटेर आइतबार पोखरा फर्किँदै गरेको अवस्थामा थापा दुर्घटनामा परेका थिए । विमान दुर्घटनामा छोरा परेको खबर सुन्नासाथ पदमबहादुर र सूर्यकुमारीका आँसु रोकिएको छैन । बुचा दम्पतीका दुई सन्तानमध्ये डा थापा कान्छो सन्तान हुन् । थापाकी दिदी काठमाडौँमै छन् । तिलोत्तमा–४ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीका अनुसार सोही वडाकै सिद्धार्थ बोर्डिङ स्कुलबाट एसएलसीसम्म अध्ययन गरेका थापाले बुटवलस्थित ग्लोरियस कलेजबाट प्लस टुसम्मको अध्ययन गरेका थिए । प्लस टु अध्ययनपछि चीनको जिनिङ मेडिकल युनिभर्सिटीबाट एमबिबिएस र अस्ट्रेलियाबाट एमपीएच अध्ययन पूरा गरेका थिए । केही वर्ष मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर र वीरेन्द्र सैनिक अस्पतालमा काम गरेपछि उनी पछिल्लो केही वर्षयता ब्रिटिस वेलफेयर अस्पतालमा कार्यरत थिए। बुबा पदमबहादुर र आमा सूर्यकुमारीले छोरालाई डाक्टर बनाउने सपना पूरा भएको खुसी धेरै वर्ष टिक्न पाएन । छोरालाई डाक्टर बनाउन सानो खर्चले नपुग्ने भएपछि थापाका बुबा पदम वैदेशिक रोजगारीका लागि जर्मनीसमेत गएका थिए । छोरा चिकित्सक बनेपछि भने उनी वैदेशिक रोजगारीबाट फर्किएर घरमै बस्दै आएका थिए । छोराको कमाइ खाएर आराम गर्ने समयमा बुचा दम्पतीको परिवारमा बज्रपात परेको छ । एकमात्र छोरा गुमाउनुपर्दाको खबर आमा सूर्यकुमारीले अझै पत्याउन सकेकी छै्रनन् । डा थापाकी धर्मपत्नी र दुई वर्षीया छोरी काठमाडौँमै रहेकाले बुबा पदम र आमा सूर्यकुमारी आफन्तीसँग काठमाडौँ पुगेका छन् । माघ १ गते आइतबार बिहान काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको कल साइन ‘नाइन एन–एनएसी’ ६९१ उडानको एटीआर ७२ विमान अवतरण हुनुअघि पोखराको सेती खोँचमा दुर्घटनाग्रस्त भएको थियो । विमानमा चालक दलका चार सदस्य र ६८ यात्रु गरी ७२ जना सवार थिए ।
टिभिएसले हात पार्‍यो उत्कृष्ट फिचर तथा कम्युटर अवार्ड काठमाडौं। हालै सम्पन्न टेकलेख अवार्डमा टिभिएस रेडरले उत्कृष्ट कम्युटर तथा टिभिएस अपाचे आरटिआर १६० फोभिले उत्कृष्ट फिचर अवार्ड हात पारेको छ। गत वर्ष पनि रेडरले टेकलेखको साथमा अरु धेरै अवार्डहरु पाएको थियो जस्तै आईएमओटिवाइ- २०२२ र अटो कार। टेकलेखले जारी गरेको विज्ञप्ति अनुसार रेडरमा भएका सुधारहरुको आधारमा यो वर्ष पनि रेडरले यो अवार्ड प्राप्त गर्न सफल भएको हो। विज्ञप्तिमा उल्लेख भए अनुसार रेडरको किफायती मूल्य, स्टाइल, र अप्डेटेड फिचरहरुका कारण यस बाइकले अवार्ड पाएको छ। टिभिएस रेडर १२५ मा आकर्षक मस्कुलर लुक्सका साथमा एड्जस्टेवल मोनोशक सस्पेन्सन, यूएसबी चार्जिङ्ग, अन्डर सिट स्टोरेज र फराकिलो टायर लगायतका विशेषताहरु उपलब्ध रहेका छन्। साथै, यसमा रहेका आकर्षक नयाँ एलईडी हेडलाईट, एंगुलर एलईडी डीआरएलहरु तथा फेन्डर अप फ्रण्टले समग्र बाइकको लुक्सलाई अझ आकर्षक बनाएको छ। एयर आयल कुल्ड एसआई कार्बेरेटर ईञ्जिनद्वारा शक्ति प्रदान गरिएको यस बाइकले ७,५०० आरपीएममा १२.९ पीएस शक्ति उत्पादन गर्ने र ६ हजार आरपीएममा ११.५ एनएम अधिकतम टर्क उत्पादन गर्ने क्षमता बोकेको छ। अपाचेको कुरा गर्नुपर्दा, यस बाइकले निरन्तर सुधार गरेको फिचरहरुको गुणस्तरले गर्दा यो बाइकले अवार्ड प्राप्त गर्न सफल भएको बताइएको छ। रिडिजाइन्ड डिएलआर, राइडिङ्ग मोड, ग्लाइड थ्रु ट्राफिक, रेसिङ्ग डिएनए जस्ता फिचरहरुले गर्दा नै यस बाइकले टेकलेखको उत्कृष्ट फिचर अवार्ड प्राप्त गर्‍यो। जगदम्बा मोटर्स प्रा लि नेपालमा टिभिएसका दूई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो। कम्पनीको नेपालभर १४० भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्न तथा ग्राहकहरूको मनमस्तिष्कमा उच्च स्थान जमाउन सफल छ। गुणस्तरीय उत्पादनहरु, बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्ट-पूर्जाहरुको उपलब्धता मार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टिभिएस नेपालको सर्वाधिक रुचाइएको दुई पाङ्ग्रे ब्राण्डका रुपमा स्थापित छ।
रुपन्देहीमा धमाधम नियन्त्रणमा आउँदै अवैध मासुजन्य बस्तु भैरहवा । अवैध रुपमा कुखुरा, चल्ला र मासुजन्य वस्तुको आयातमा थप कडाई गर्न गृहमन्त्रालयले निर्देशन गरेसँगै रूपन्देहीका सिमाबाट अवैध रुपमा धमाधम ती वस्तु पक्राउ परिरहेका छन् । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भारतबाट भित्रिएका कुखुरा, चल्ला र मासुका कारण स्वदेशी व्यवसायी मर्कामा परेको भन्दै यसै साता मात्रै अवैध रुपमा नेपाल भित्रिने अण्डा, मासु र चल्लाको आयात रोक्न विभिन्न जिल्लाका सुरक्षा अधिकारीलाई निर्देशन दिएका थिए । पछिल्लो समय भारतबाट विभिन्न नका हुँदै अण्डा, चल्ला र कुखुराको मासु भित्रिएपछि आत्मनिर्भर बनेको यो व्यवसायमा सङ्कट उत्पन्न भएपछि नेपाली व्यवसायीले गृहमन्त्रीलाई अनुरोध गरेका थिए । पूर्ण रुपमा तस्करी न्यूनिकरण अभियानमा लागेको सुरक्षानिकायले तस्करको सम्भावित क्षेत्रको पहिचान गरी सीमा विन्दुमै कडाई गरेको छ । राजश्व संक्लनमा पनि कमी आएको भन्दै सीमा सुरक्षा र अवैध चोरी निकासी रोकथाम तथा नियन्त्रणको जिम्मा पाएको सशस्त्र प्रहरीले सिमा विन्दुमै सक्रियता बढाएको हो । समग्र जिल्लाको सीमा सुरक्षाको पहिलो जिम्मेवारी सशस्त्र प्रहरी बल नेपाल २७ नम्बर हेड क्वाटर अन्तर्गत नै रहेकोले जनशक्तिको अधिकतम प्रयोग गरी अवैध गतिविधीलाई सून्य बनाउनमा प्रयासरत रहेको सशस्त्र प्रहरी उपरीक्षक गगन श्रेष्ठले बताए । सीमा सुरक्षा र अवैध चोरी निकासी रोकथाम तथा नियन्त्रण गर्दै आएको सशस्त्र प्रहरीले नियमित कार्य र निर्देशन अनुरुप नै सिमा विन्दुमा सक्रियता बढाएको छ । पछिल्लो एक महिनामा झण्डै १ करोड बढी मूल्य बराबरको अवैध चोरी पैठारीका चिनी, कपडा, कुखुरा, माछा, मोटरपार्टस तथा हार्डवेयर, किराना लगायतका सामान नियन्त्रणमा लिई सम्बन्धित कार्यालय बुझाएको छ । गणअन्तर्गत दर्जन बढी शसस्त्र प्रहरी बलको युनिट रहेका छन ती युनिट मध्ये सोमबार मात्रै बुची विओपी र सशस्त्र प्रहरी बल हेड क्वाटरले झण्डै ४ क्विन्टल ब्रोइलर कुखुरा र मासु नियन्त्रणमा लिई नष्ट गरेको छ । गणका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरिक्षक मोहनराज विष्टका अनुसार बरामद ती कुखुरा र मासु पशुक्वारेन्टीन कार्यालय, संचारकर्मी, सुरक्षा निकाय र स्थानीयको  रोहबरमा नष्ट गरिएको बताए । बरामद कुखुरा केही जिउँदो आए पनि कतिपय तयारी अवस्थामा मासु नै आउने गरेको छ । खुला सीमा चुनौती नै छ । ‘चुनौतीका बाबजुद हामीले पछिल्लो एक महिनामा मात्रै ९ क्विन्टल बढी कुखुरा र मासु, केही जिउँदो पाडा, भैसी  र माछाहरू पनि नियन्त्रणमा लिई आवश्यक कारबाही गरेका छौं । सिमा विन्दुमै रहेको ह्याचरी फर्महरू नै यस्ता अवैध गतिविधिमा संलग्न हुने गरेको पाइएको छ।’ सशस्त्र प्रहरी नायब उपरीक्षक विष्टले भने । नेपाली पोल्ट्री व्यवसायीहरुले भारतीय मासु तथा चल्लाहरूको अवैध आयात, दानाको कच्चा पदार्थको मूल्यवृद्धि र लागत अनुसारको मूल्य पाउन नसकेको कारण पलायन हुनुपर्ने अवस्था आएको बताए । नेपाल कुखुरा आत्मनिर्भर भएपनि नेपालमा भन्दा भारतमा उत्पादन लागत कम हुने भएकाले भारतमा कुखुराको चल्ला, मासु र अण्डा सस्तो पर्ने गर्छ, सस्तोको कारण नै भारतिय कुखुरा तथा कुखुराजन्य वस्तुहरू नेपाल भित्रिने गरेको छ । सीमा क्षेत्रमा हुने कुखुरा तस्करीले व्यवसायी मारमा पर्ने गरेका छन् । दुवै देशका व्यापारी र भरियाहरुको संलग्नतामा मोटरसाइकल र साइकलमा कुखुरा आउने गरेको छ, भारतिय कुखुरा ल्याएर सस्तोमा बिक्री गर्न थालेपछि स्थानीय कुखुरा बिक्री मूल्य पनि घट्ने गरेको छ ।  मोहम्मद हबिब
दुई दिनदेखि थामिएको छैन मदनकाजीको आँसु लेखनाथ । परिवारलाई सान्त्वना दिन आज दिउँसो नेकपा (एकीकृत समाजवादी) का नेता र स्थानीयवासीको भीड थियो पोखराको गणेशटोलस्थित मदनकाजी श्रेष्ठको घरमा । बैठक कोठाको ‘लोबेड’ मा सुतिरहेका श्रेष्ठको आँखाबाट आँसु बगिरहेको देखिन्थ्यो । छिनछिनमा गम्छाले आँसु पुछिरहेको दृश्यले त्यहाँ पुग्ने आधिकाशंको आँखा पनि रसाइरहेको थियो । त्यही समयमा सान्त्वना दिनकै लागि एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले उनको मोबाइलमा फोन गरे तर पहिलो पटक श्रेष्ठको फोन उठेन, पुनः अर्को पटक फोन गरे, श्रेष्ठले दोस्रो पटकको फोन उठाए तर श्रेष्ठको वाक्य स्पष्ट हुनै सकेन । उनी छिनछिनमा नाति, छोरा र बुहारीलाई सम्झिएर भक्कानिन्थे । विभिन्न रोगसँग लड्दै आएका श्रेष्ठलाई आइतबार पोखरामा भएको जहाज दुर्घटनाबाट परिवारमा परेको बज्रपातले झनै कमजोर बनाएको छ । उनका कान्छा छोरा, बुहारी र १५ महिने नातिको पोखराको सेती खोँचमा भएको जहाज दुर्घटनामा परेर निधन भएको छ । परिवारसँग बसेर खुसीसाथ माघे सङ्क्रान्ति मनाउने सपना बोकेर काठमाडौँबाट पोखरा आउँदै गरेको यती एयरलाइन्सको एटिआर दुर्घटनाले मदनकाजीका कान्छा छोरा ३८ वर्षीय डा सुशील श्रेष्ठ, बुहारी डा सोना श्रेष्ठ र १५ महिने नाबालक नातिको सपना अधुरै बन्यो । आँखामा राखे पनि नबिझाउने, अनुशासित डा सुशील र उनकी पत्नी र छोराको निधनले गाउँ नै शोकमा डुबेको छिमेकी कृष्णमान पालिखेले बताए । “सबैलाई सम्मान र अनुशासित व्यक्तिको निधनले समाज र गाउँलाई नै टुहुरो बनाउँदो रहेछ”, उनले भने, “भुल्छु भन्दा पनि उनीहरूले आफूप्रति गरेको माया र सम्मानलाई भुल्नै सक्दिनँ ।” एकीकृत समाजवादीका नेता मदनकाजी पनि सामाजिक सेवामा दिनरात खटिने र छोरा सुशील पनि सरल स्वभावका थिए तर दुर्घटनाले परिवार नै समाप्त पारिदियो । सुशीलकी आमा पनि अर्धचेत अवस्थामा छन्, घरिघरि छोरा बुहारी र भरभराउने नातिको सम्झना आइरहन्छ उनलाई । उनीहरू तीन जनाकै शव फेला परिसकेको छ तर शवहरू क्षतविक्षत अवस्थामा छन् । दुई वर्षदेखि राष्ट्रिय ट्रमा सेन्टरमा अर्थोपेडिक सर्जनका रूपमा कार्यरत थिए श्रेष्ठ । डा सोना पनि एमडी गर्दै थिइन् । डा सुशीलले काठमाडौँ मेडिकल कलेजबाट एमबिबिएस पढेर चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) बाट अर्थोपेडिक सर्जरीमा एमडी गरेका छन् । तीनै जनाको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा रहेको छ । मङ्गलबार मात्र शव बुझाउने तयारी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको छ । आज मृतकका आफन्तहरू दिनभर शव प्राप्त गर्ने प्रतीक्षामा अस्पतालमा बसेको भए पनि शव प्राप्त गर्न नसक्दा निराश भएर फर्किएका छन् । शल्य परीक्षण ढिला हुँदा मृतकका आफन्तले आज शव बुझ्न सकेका छैनन् ।
यति विमान दुर्घटनाः शवको व्यवस्थापन र हस्तान्तरण गर्न सरकारले बनायो आवश्यक कार्ययोजना काठमाडौं । सरकारले आइतबार पोखरामा यति एयरलाइन्स दुर्घनामा परि निधन भएकाहरुको शवको व्यवस्थापन र हस्तान्तरण गर्न आवश्यक कार्ययोजना बनाएको छ । सिहदरबारमा सोमबार बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन बैठकले शवको पोष्टमार्टम, शव हस्तान्तरण तथा केहि शव विदेश पठाउने लगाएतलाई सहजीकरण गर्न कार्ययोजना बनाएको हो । त्यस्तै बैठकमा मृतकका परिवारलाई विमा वापतको रकम उपलव्ध गराउने बिषयमा पनि छलफल भएको थियो । मृतक सवैको सनाखत भइसकेपछि प्रमाणहरु लिने काम हुने र विमा वापतको रकम उपलव्ध गराइने भएकाले बिमाका सम्बन्धमा कुनै समस्या नरहेको बिमा प्राधिकरणका अध्यक्ष सुर्य सिलवालले जानकारी दिए । आइतबार काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर–७२ विमान दुर्घटना भएको थियो ।
सल्यानमा ऐलानी जग्गामा बनाइएका घरटहरामा डोजर चल्यो (फोटोफिचर) सुर्खेत। सल्यानको शारदा नगरपालिकाले ऐलानी जग्गामा बनाइएका घर टहरामा डोजर चलेको छ। आधुनिक बसपार्क निर्माण गर्न शारदा नगरपालिका १ श्रीनगरस्थित बसपार्क क्षेत्रका घरटहरामा सोमबार नगरपालिकाले डोजगर चलाएको हो। श्रीनगर बजार नजिक रहेका सरकारी पर्ती ऐलानी जग्गामा आधुनिक बसपार्क निर्माणका लागि अस्थायी बसपार्क वरपरका झन्डै १ सय ५० बढी घरहटरा हटाइएको नगरपालिकाले जनाएको छ। पहिलो चरणमा ३५ रोपनी क्षेत्रफलमा बनाइएको घरटहरामा डोजर चलेको नगरप्रमुख प्रकाश भण्डारीले जानकारी दिए। मंसिर १५ गते बसेको शारदा नगर कार्यपालिकाको बैठकले ऐलानी जग्गामा बनेको घरटहरा हटाउने निर्णयअनुसार ३५ दिने सूचना जारी गरी घरटहरा हटाइएको उनको भनाई छ। ३५ दिने सूचनाजारी गर्दा पनि नहटाउने घरटहरामा डोजर चलेको भण्डारीले बताए। कानुनको परिधिभित्र रहेर विकास निर्माणको कामगर्न आफूलाई कसैले अवरोध गर्न नसक्ने उनको भनाई छ। स्थानीय घर र जग्गाधनीहरुले भने बसपार्क क्षेत्रमामात्रभन्दा पनि ऐलानीजग्गामाबनेका सम्पूर्ण घरटहरा भत्काउनु पर्ने बताएका छन्। घरटहरा भत्काउनेमाआफूहरुको विरोध नरहेको भन्दै उनीहरुले अन्य स्थानमा ऐलानी जमिनमा बनेका संरचना पनि भत्काउनु पर्छ भन्ने माग रहेको उनीहरुको भनाई छ।
सेतीको खोँचमा माछा मारिरहेका आले भन्छन्– बेलाबेलामा झस्कन्छु पोखरा । आइतबार विहान यती एयरलायन्सको जहाज खसेको पोखराको सेतीकै खोँच नजिक छ नागार्जुन टोल । त्यही टोलमा बस्छन् कुमार आले । तनहुँको बन्दीपुरमा जन्मिएका उनी परिवारसहित १० वर्षदेखि यही टोलमा बस्दै आएका छन् । स्थानीय ब्लक फ्याक्ट्रीमा काम गर्ने आले समय–समयमा माछा मार्न सेती नदीको किनारमा जाने गर्छन् । संयोगवश आइतबार पनि विहानै उनी सेतीको खोँच झरे । दुर्भाग्य, त्यहीँ माछा मार्ने क्रममा आइतबार विहान उनले जीवनमा कहिल्यै नदेखेको त्रासदी देखे र भोगे । एकसुरमा जालमा माछा पार्ने प्रयन्त गरिरहेका आलेले सेती सुसाएको जस्तो सुने । ठूलो आवाजसँगै माछा मारिरहेकै ठाउँमा ढुङ्गा झर्न थाले । सुसाएको आवाज ठूलै हावाहुरी आएको जस्तो सुनिएको आलेले सुनाए । “ढुङ्गा झर्न थालेसँगै मेरो त होसहवास नै उड्यो, के भयो भनेर निकै अत्तालिएँ”, उनले भने, “खोँचबाट माथि कसरी आइपुँगे आफैँलाई थाहा छैन, अहिले सम्झँदा कहाली लागेर आउँछ ।” माथि आइसकेपछि मात्रै जहाज दुर्घटना भएको थाहा पाएको उनले सुनाए । सेती खोँचमा आफू मात्रै नभइ अरु चार जनाले पनि माछा मारिरहेको आफूले पछि मात्रै थाहा पाएको बताए । “यति ठूलो दुर्घटना हुँदा नदीकै खोँचमै रहेको म भाग्यले बाँचेको जस्तो लाग्छ, अहिले पनि सम्झँदा डर लाग्छ”, उनले सुनाए, “परिवारका सदस्य पनि उत्तिकै डराएका छन् ।” जहाज ठोक्किएपछि खोँचमा खसेका ढुङ्गा शरीरमा लाग्दा करङ्गमा चोट लागेको छ भने शरीरका अन्य भागमा पनि चोट लागेको उनले सुनाए । नदीको दुवैतर्फ रहेका घनावस्तीका बीचमा जहाज दुर्घटना हुँदा आसपासका वस्ती जोगाएको भन्दै स्थानीयले पाइलट कमल केसीलाई धन्यवाद दिएका छन् । स्थानीयवासी एवम् सिर्जना टोल विकास संस्थाका सचिव इन्द्रप्रसाद सापकोटाले भने, “दुर्घटनाको प्रकृति हेर्दा पाइलटले बस्ती जोगाउन निकै प्रयास गरेको जस्तो देखिएको छ, दुर्घटनाको कारणबारे अनुसन्धानको रिपोर्ट आएपछि बाँकी जानकारी हुनेनै छ ।” सरकारले दुर्घटना जाँचका लागि पाँच सदस्यीय समिति गठन गरेको छ । सोमबार विमानको विहान भेट्टाइएको ब्ल्याक बक्स उक्त जाँच समितिले बुझाइसकिएको छ । ब्ल्याक बक्स जहाजको महत्वपूर्ण उपकरण मानिन्छ । जसमा विमान दुर्घटना हुनुभन्दा दुई घण्टा अघिसम्मका आवाज रेकर्ड हुन्छन् । उक्त ब्ल्याक बक्समा रेकर्ड भएका आवाजका आधारमा दुर्घटनाको कारण पत्ता लगाउन सहज हुन्छ । ब्ल्याक बक्समा इञ्जिनको आवाजसँगै क्याविन, ककपिटआदिको आवाज रेकर्ड हुने भएकाले दुर्घटनाका समयमा जहाज कस्तो अवस्थामा थियो भन्ने पत्ता लगाउन सजिलो हुने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता अनुप जोशीले बताए ।
गण्डकी प्रदेशको उपसभामुख निर्वाचनअघि शोक प्रस्ताव पारित गरिने पोखरा। गण्डकी प्रदेशको उपसभामुख निर्वाचनअघि शोक प्रस्ताव पारित गरिने भएको छ। संसद सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीका अनुसार पोखरामा आइतबार भएको यति एअरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएका सम्झनामा शोक प्रस्ताव पारित गर्न लागिएको हो। शोक प्रस्ताव पारित भएपछि उपसभामुखको निर्वाचन प्रक्रिया सुरु हुनेछ। उपसभामुखका लागि नेकपा एमालेवाट बाग्लुङकी बिनाकुमार थापा तथा कांग्रेसबाट लम्जुङकी पार्वती तामाङले उम्मेदवारी दर्ता गराएका छन्। सत्तारुढ गठबन्धनमा आवद्ध नेकपा एमालेको २२, माओवादीको ८ राप्रपाको २ मत छ भने कांग्रेसको २७ मत रहेको छ। उता, एकीकृत समाजवादीको १ मत रहेको प्रदेश सभाले आजै उपसभामुख चयन गर्नेछ। गठबन्धनको मत बढी भएकाले एमालेकी थापा चयन हुने लगभग निश्चित छ। यसअघि नै माओवादीका कृष्ण धिताल सभामुख चयन भईसकेका छन्। सभामुखको हैसियतमा उनले मत भने हाल्ने छैनन्। पोखरा विमान दुर्घटनामा सरकारले राष्ट्रिय शोक घोषणा गरेपछि मधेस प्रदेश र सुदुरपश्चिम प्रदेशको सभा स्थगित भएको थियो। तर, उपसभामुख चयन गर्नुपर्ने समयसीमाकाे संबैधानिक बाध्यताका कारण गण्डकीमा उपसभामुख चयन हुन लागेको हो।
विमान दुर्घटना : एकै परिवारका चारको मृत्यु, चौरासी पूजामा रमाउने धोको पूरा भएन पर्वत। पर्वतको विहादी गाउँपालिका वडा नं ५ की ६३ वर्षीया जमुना शर्मा विगत तीन महिनादेखि काठमाडौँमा छोरासँग बस्दै आएकी थिइन्। यही माघ ४ गते माइती गाउँ विहादी वडा नं ४ को वानीपोखरामा बाबुआमाको चौरासी पूजामा सरिक हुनका लागि छोरा युवराजसहित नाति र नातिनीसँग उनी पोखरा फर्कंदै थिइन्। बाबाको जन्मघर, गाउँ घुुम्न जान पाउँदा दुवै छोराकै खुसी देखिन्थ्ये। तर उनीहरुको खुसी विमानवाट झर्न नपाउँदै बिलय हुनपुग्यो। आइतबार काठमाडौँबाट पोखरा जाँदै गरेको यती एयरलाइन्सको विमान दुर्घटनामा परी ६३ वर्षीया जमुना शर्मा, उनको छोरा ४० वर्षीय युवराज शर्मा, नातिनी १३ वर्षीया आयुर्दी शर्मा र नाति चार वर्षीय बेवीन शर्माको निधन भएको छ। लामो समयदेखी गाउँ नआएका छोरा र नाति नातिनीसँग गाउँ फर्किंदा जमुना खुसी त थिइन् नै साथै उनले माइतीमा आफ्ना आमाबुवाको चौरासी पूजामा समेत जाने योजना बनाएकी थिइन्। तर विमान दुर्घटनासँगै उनको सपना पनि अस्ताएको छ। जमुना आधा समय काठमाडौँ छोरासँग र आधा समय गाउँमा नै बस्ने गर्थिन्। छोरा अन्तर्राष्ट्रिय एकीकृत विकास केन्द्र (इसिमोड)मा आइटी अधिृकतका रुपमा कार्यरत थिए भने बुहारी सरु शर्मा त्रिभुवन विमानस्थलमा टावर कन्ट्रोलर अफिसरका रुपमा कार्यरत रहेकाे उनका आफन्त विहादी गाउँपालिकाकी उपाध्यक्ष मिना तिवारीले जानकारी दिइन्। आफैँले टिकट काटेर श्रीमान्, छोरा, छोरी र सासूआमालाई घर पठाएकी सरुले आफूलाई सम्हाल्न नसकेर विक्षिप्त भएकी छन्। उनी यतिबेला अस्पतालमा भर्ना भएकी छन्। एकै परिवारका चार जनाको निधन भएपछि अहिले पूरै गाउँ शोकमा डुबेको छ। गाउँमा रहेका आफन्त शव पहिचान गरी अन्त्येष्टिका लागि पोखरातर्फ लागेका छन्। विमान दुर्घटनामा परी पर्वतमा १० जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा शर्मा परिवारका चार जना, पर्वतको कुश्मा नगरपालिका वडा नं १४ आर्थर डाँडाखर्कका पत्रकार त्रिभुवन पौडेल, कुश्मा नगरपालिका वडा नं ९ का अरुण पौडेल र उनको छोरी ११ वर्षीया प्रसिद्धि पौडेल, कुश्मा नगरपालिका वडा नं १ पाङ्की रचना काफ्ले र उनका १० महिने छोरा रिहान पौडेल, मोदी गाउँपालिका वडा नं १ भुकताङ्लेका विजय गुरुङ रहेका छन्। रासस
आजदेखि जग्गाको कित्ताकाट खुल्ला काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकमा आजदेखि जग्गाको कित्ताकाट खुलेको छ। जिल्ला मातपोत कार्यालयले हाललाई सदरमुकाम धलिखेल नगरपालिका र बनेपा नगरमा मात्रै जग्गाको कित्ताकाट हुने जनाएको छ। यी दुई पालिकाले जग्गाको वर्गीकरण गरेकाले कित्ताकाट खुला गरिएको हो। मालपोत अधिकृत गङ्गाप्रसाद पोखरेलका अनुसार जग्गा वर्गीकरण सकाएका काभ्रेपलाञ्चोकका अन्य स्थानीय तहलाई कित्ताकाट अनुमति लिन पत्रसमेत पठाइएको छ। कार्यालयले घर बाटोको सिफारिसमा एकरुपता हुनुपर्ने भएका वडा तहबाटै निश्चित ढाँचाको फारम भरेर घरबाटो तथा जग्गा वर्गीकरण सिफारिस पठाइदिन अनुरोध गरेको हो। “जग्गा वर्गीकरण भएकामध्ये बनेपा र धुलिखेलमा मात्रै कित्ताकाट खुलाइएको हो हो”, पोखरेलले भने। काभ्रेमा धुलिखेल र बनेपा नगर तथा चाैंरीदेउराली र खानीखोला गाउँपालिकाले जग्गा वर्गीकरण गरेर जिल्ला मातपोत कार्यालयमा पठाएका थिए। चौरीदेउराली र खानीखोला गाउँपालिकाको भने वर्गीकरणमा समस्या देखिएपछि पुनः वर्गीकरणका लागि पठाइएको पोखरेलले बताए। अन्य पालिकाबाट भने मालपोत कार्यालयमा अहिलेसम्म जग्गा वर्गीकरण भएका निवेदन परेको छैन। भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले गत जेठ २७ गते घर-जग्गा कारोबारमा लगाएको रोक करिब सात महिनापछि काभ्रेपलाञ्चोकमा खुलेको हो। मन्त्रालयले गत मङ्सिर २२ गतेसम्म स्थानीय सरकारले स्थानीय भू-उपयोग परिषद्बाट जग्गाको स्थायी तथा अस्थायी वर्गीकरण गर्नुपर्नेमा जिल्लाका नौ स्थानीय तह नागरिक प्रति अझै अनुत्तरदायी देखिएको बताइन्छ। कार्यालयले भू-उपयोग नियमावली २०७९ कार्यान्वयनमा आइसकेको अवस्थामा जग्गाको वर्गीकरण भइसकेका स्थानीय तहहरुबाट आएका भू–उपयोग परिषद्को निर्णयअनुसार सबै कित्ता जग्गाको जग्गाधनी श्रेस्ता/पुर्जा तथा नक्सामा अध्यावधिक गरेर मात्र सेवा प्रवाह गर्नुपर्ने भएकाले अनिवार्यरुपमा मिति २०७९ साल माघ २ गतेबाट खुला गरिएको जनाएको हो। लिखत रजिष्ट्रेसन पास बैंक तथा वित्तीय संस्थाको रोक्का, नामसारीलगायत अन्य निवेदनसम्बन्धी सेवा भू-उपयोग वर्गीकरण क्षेत्र खुल्ने गरी स्थानीय तहहरुबाट सिफारिस आएपश्चात् मात्र सेवा प्रवाह गरिने कार्यालयले जनाएको छ। जल्लास्थित चौँरीदेउराली र खानीखोला गाउँपालिकाले सबै भूमि गैरकृषि क्षेत्र कायम गरिएको जानकारी गराएकाले पुनः वर्गीकरण गर्न भनिएको हो। गत जेठ २७ गतेदेखि मङ्सिर २२ गतेसम्म जग्गा वर्गीकरणमा आलटाल गरिरहेका स्थानीय सरकारले विज्ञ नभएका कारण समस्या भएको बताएका छन्। जग्गा वर्गीकरण नहुँदा नागरिकका अंशबण्डासमेत हुन नसकेको बताइन्छ। नेपाल लेखापढी कानुन व्यवसायी सङ्घका अध्यक्ष रोशनकुमार श्रेष्ठका अनुसार जसका कारण राज्यको राजस्व घटिरहेको छ भने नागरिकले आफ्नो जमिन धितो राखेर उपचारसमेत गर्नबाट वञ्चित बनेका छन्। सङ्घले जिल्लाका सबैै स्थानीय तहमा जग्गाको भू-वर्गीकरण समयमै सम्पन्न गर्न ज्ञापनपत्रसमेत बुझाएको थियो। नियमावलीमा स्थानीय सरकारले जग्गा भू-वर्गीकरण गर्न नसके प्रदेश सरकारले गर्ने उल्लेख छ। जग्गा वर्गीकरण नहुँदा मालपोत कार्यालयले प्राप्त गर्ने करोडौँ राजस्व घटेको छ। यसअघि नामसारी, दृष्टिबन्धक (व्यक्तिगत), पूरा कित्ता (अंश बण्डा), पूरा कित्ता (पास), छोडपत्र (पूरा) सगोलनामा मात्रै कारोबार हुने गरेको थियो। रासस
पोखरा विमान दुर्घटना : शोकमा डुब्यो पर्वत पर्वत। आइतबार पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा परी पर्वतका १० जनाको ज्यान गएको पुष्टि भएको छ। मृतक सबैको सनाखतसमेत भइसकेको छ। दुर्घटनामा परी कुश्मा नगरपालिका-१४ आर्थर डाँढाखर्कका नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य त्रिभुवन पौडेल, कुश्मा-९ का अरुण पौडेल र उgकै छोरी ११ वर्षीया प्रसिद्धी पौडेल, कुश्मा-१ पाङकी रचना काफ्ले र उनका १० महिने छोरा रिहान पौडेलको ज्यान गएको हो। त्यसैगरी मोदी गाउँपालिका-१ भुकताङ्लेका विजय गुरुङ, विहादी-५ उराम पोखराका एकै परिवारका जमुना शर्मा, युवराज शर्मा, आयुर्दी शर्मा र वेबी शर्मा रहेका छन्। शर्मा परिवारमा आमा, छोरा, नाति र नातिनी एउटै विमान दुर्घनामा परेर अकल्पनीय निधन भएको हो। उनीहरु यही माघ ४ गते आफन्तको घरमा रहेको पूजामा निम्ता मान्न आएका थिए। दुर्घटनामा ज्यान गुमाउने कुश्मा-९ कटुवाचौपारीका ४६ वर्षका अरुण पौडेल र उनकी छोरी वर्ष ११ कि प्रसिद्धी पौडेल विद्यालय बिदा भएपछि आफन्तलाई भेटघाट गर्नका लागि आउँदै गरेको बुझिएको छ। काठमाडौँको बृहस्पति विद्याश्रममा कक्षा ५ मा पढ्ने प्रसिद्धी जन्मघर पर्वत आउने क्रममा उनीहरू दुर्घटनामा परेका हुन्। “छोरीको स्कुल बिदा पनि भएकाले दाजुभाइ भेटौँ भनेर जन्मघर आउन लाग्नुभएको रहेछ”, अरुणका छिमेकी उपेन्द्र अधिकारीले भने, “उहाँहरूलाई लिन भाइ (अरुणका भाइ केशव) विमानस्थलमै पुग्नुभएको थियो।” केशवले नै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गएर अरुण र प्रसिद्धीको शवको पहिचान गरेका थिए। पौडेल गत मङ्सिर ४ गते भएको प्रतिनिधिसभा चुनावमा पर्वतबाट स्वतन्त्र उम्मेदवार बनेका थिए। दुर्घटनामा परी ज्यान गुमाएका पर्वतका सबैको पहिचान भएकाले आज आफन्तलाई शव बुझाइने कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए।
आज यती एयरलाइन्सका नियमित उडान नहुने काठमाडौं। यती एयरलाइन्सले आज नियमित उडान नभर्ने भएको छ। आइतबार पोखरामा एटिआर-७२ जहाज दुर्घटनामा परेपछि यतीले आज हुने भनिएका सबै उडान रद्द गर्ने निर्णय गरेको हो। नियमित उडान रद्द गरिए पनि आपतकालीन र उद्दारका उडान भने हुने एयरलाइन्सले जनाएको छ। पोखरामा भएको दुर्घटनामा ६९ जनाको मृत्यु भएको पुष्टि भएको छ। जहाजमा ४ चालक दलका सदस्य र ६८ यात्रु सवार थिए। सरकारले आज शोक विदा दिएको छ।
कर्णालीमा माघी मनाउने अचम्मका शैली : कतै सिस्नुले हानाहान, कतै रातभरि जाग्राम सुर्खेत । कर्णाली प्रदेशका हिमाली तथा पहाडी जिल्लामा माघी मनाउने अचम्मका चलन प्रचलनमा रहेका छन् । कतै सिस्नुले हानाहान गरेर गरेर माघी मनाइन्छ भने कतै रातभरि जाग्राम बसेर मनाउने गरिन्छ । बिभिन्न जाती अनुसारको चलन चल्तीमा रहेको यस क्षेत्रमा जानकारहरु बताउँछन् । जाजरकोट , रुकुम पश्चिम , सल्यानमा सिस्नु हानाहान गरेर माघि मनाइन्छ । मामाकी छोरीलाई फूपूका छोराले सिस्नु हान्ने, साली, भिना, सोल्टी, सोल्टिनाबीच सिस्नु हानाहान गरेर मनाउने गरिन्छ । सिस्नु हानाहान गर्नका लागि अन्य जिल्लाका स्थानीयवासी यहाँ आउने गर्छन् । आजको दिन सिस्नुले नहानेमा सुँगुरको जुनी पाइने धार्मिक मान्यता रहेको छ । साथीभाइबीच जिस्किएर सिस्नु हान्ने चलन पनि रहेको छ । सिस्नु घुँडाबाहेक अन्यत्र हान्न नपाइने व्यवस्था भएको नलगाड नगरपालिका वडा नं ८ का शिक्षिका नन्दा शाही बताइन । कतिपयले सिस्नु हान्दाहान्दै विवाहसमेत हुने गरेको छ । सिस्नु खेल्नका लागि मामाघर र माइती जाने चलनसमेत रहेको छ । त्यस्तै हिमाली जिल्ला हुम्लामा कर्णाली नदीको तीरमा चिसो सिरेटोसँगै रातभरि जाग्राम बस्दै मनाउने गरिदै आइएको छ । रातभरि जाग्राम बसे राम्रो फल प्राप्त हुने धार्मिक मान्यतालाई निरन्तरता दिँदै यस वर्ष पनि राति नदीबाट आउने चिसो सिरेटोको प्रवाह नगरी माघे संक्रान्ति मनाएको स्थानीयबासीको भनाई छ । खार्पुनाथ तीर्थका रूपमा उक्त स्थान जिल्लाभित्र र बाहिर प्रख्यात छ। शिवालय क्षेत्रमा शिवको मन्दिर पनि छ। खार्पुनाथ शिवालय व्यवस्थापन समितिका सदस्य भीमराज शाहीका अनुसार यस वर्ष जाग्राम बसेर माघे संक्रान्ति मेला मनाउने कार्य भएको छ। शनिवार ६ बजेबाट भक्तजन खार्पुमा जम्मा भएका थिए। उनीहरू सबैले रातभरि शिवजीको आराधाना गाएर रात कटाएको र बिहान सबेरै कर्णाली नदीको चिसो पानीमा स्नान गरेर मन्दिरमा पूजापाठमा लागेका लाग्ने गर्दछन् । शिवालयमा जाग्रम बसी पूजापाठ गरे राम्रो काम बन्ने धार्मिक मान्यताका कारण अधिकांश भक्तजन मेला मनाउन आउने गर्छन्। त्यसो गरे हालसम्म कुनै व्यक्तिबाट भएको पाप पनि पखालिने धार्मिक विश्वास छ। मदिरा र काटमार निषेध गरिएको शिवालय क्षेत्रमा महिला–पुुरुष मिलेर देउडा पनि गाउने गर्छन्। विशेष गरी खार्पुनाथ गाउँपालिका– ५ का ठकुरी समुदायका पुरुषहरूले पराम्परागत पोसाक बख्खुु लगाएर मध्य क्षेत्रमा बालेको आगो ताप्दै चाड्ची र भारी गीत पनि गाउने र नाच्ने गर्छन्। त्यस्तै मुगुमा केटीहरुले घर घरमा गएर खाद्यान्न उठाउने र बेलुकी भएपछि सो खाद्यान्नको मिठाइ बनाएर दाजु , भाइ र आफन्तलाई दिने गरिन्छ । सो खाए बाफत आफन्तहरुले घरको छोरी बैनीलाई केही रकम दिने चलन रहेको छ । यो गरेमा मात्र पुण्य कमाइ हुने जनविश्वास रहेको छ ।
दाङका सबै क्रसर उद्योग बन्द तुलसीपुर। गृहमन्त्रालयले मापदण्डविपरीत सञ्चालनमा आएका अवैध क्रसरहरूलाई तत्काल बन्द गर्न निर्देशन दिएसँगै दाङमा पनि क्रसर उद्योग बन्द भएका छन्। गत पुस २० गते मन्त्रालयले निर्देशन दिएसँगै २१ गते जिल्ला प्रशासन कार्यालय दाङले सार्वजनिक सूचना जारी गरी जिल्लामा रहेका सबै क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको थियो। सोहीअनुरुप जिल्लाका सबै क्रसर उद्योग बन्द भएका छन्। अहिले सबै उद्योग बन्द भए पनि वैध र अवैध उद्योग प्रमाणितपछि वैधानिक उद्योगलाई सञ्चालन गर्न अनुमति दिइने भएको छ। उद्योगहरूको अनुगमनका लागि समिति पनि गठन गरिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा थापाको संयोजकत्वमा छानविन तथा अनुगमन समितिसमेत गठन गरिएको हो। यसको सदस्यहरूमा जिल्ला समन्वय अधिकारी, क्रसर व्यवसायी सङ्घका अध्यक्ष, डिभिजन वन कार्यालय, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक, सशस्त्र प्रहरी निरीक्षक, नापी कार्यालय, सडक डिभिजन कार्यालय, जिल्ला घरेलु कार्यालय, विद्युत् कार्यालय तथा सम्बन्धित स्थानीय तहका प्रतिनिधिहरू रहने छन्। सोही समितिले कागजातका आधारमा छानविन अगाडि बढाउनेछ। दाङमा १२ क्रसर उद्योग र ३२ बालुवा प्रशोधन केन्द्र रहेका छन्। तर प्रशोधनको अनुमति पाएका आठ उद्योगले क्रसरको काम गरिरहेका छन्।
नेपाल एयरलाइन्सद्वारा इलाम-काठमाडौँ उडान भर्दै मंगलबारे। नेपाल एयरलाइन्सले आजदेखि इलाम-काठमाडौँ उडान सुरु गर्नेभएको छ । सातामा एउटा उडान गर्ने गरी इलाम नगरपालिका र नेपाल एयरलाइन्सबीच सहमति समेत भएको छ। एक वर्षअघि करिब तीन महिना उडान भएर स्थगन भएको इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा आजदेखि पुनः उडान सञ्चालन हुने भएको हो। इलाम नगरपालिका-९ मा रहेको यस फल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट गत वर्ष इलाम नगरपालिकाले तारा एयरसँग सम्झौता गरेर केही उडान गरेको थियो। तर सम्झौता सकिएसँगै उडानसमेत बन्द भएको छ। विमानबाट इलाम-काठमाडौँ करिब एक घण्टामा एकोहोरो उडान गर्न सकिन्छ। आज करिब ८ बजे काठमाडौँबाट उडान गर्ने तालिका रहेको छ। इलाममा करिब ९ बजे आउने र साढे नौ बजे काठमाडौँका लागि उड्ने तालिका निर्धारण भएको इलाम नगर प्रमुख केदार थापाले बताए। उनले उडानसँगै इलाममा पर्यटकको सङ्ख्यामा वृद्धि हुने अपेक्षा लिएको जानकारी दिए। इलामबाट १९ सिट क्षमताको ट्वीनअटर जहाज सञ्चालन हुनेछ। इलामबाट काठमाडौँको एकतर्फी भाडा रु छ हजार तीन सय तोकिएको छ। काठमाडौँबाट इलामका लागि भने एकतर्फी भाडा रु छ हजार पाँच सय तोकिएको छ। तर ज्येष्ठ नागरिक, विद्यार्थी र बालबालिकालाई विशेष छुटको सुविधा उपलब्ध गरिएको नगरपालिकाले जनाएको छ। एक उडानमा दुई जना ७० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई करबाहेकको रकममा ५० प्रतिशत भाडा छुट गरिएको छ। यात्रुले इलाम बजारस्थित सिटीमार्टको पहिलो तलाबाट टिकट लिने व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ। यो विमानस्थलबाट इलामसहित पाँचथर, ताप्लेजुङ र भारतको दार्जिलिङका बासिन्दाले पनि सुविधा पाउने अपेक्षा गरिएको छ। पर्यटकीय क्षेत्र इलाम भएका कारण नियमित उडान राख्दा यात्रु पाउन समस्या नहुने नगरपालिकाले जनाएको छ। यस विमानस्थल छ सय ७० मिटर लम्बाइ र २० मिटर चौडाइको धावनमार्ग कालोपत्र गरिएको छ।
आज देशभर सार्वजनिक बिदा काठमाडौं। आज माघ १ गते अर्थात् माघे संक्रान्ति। थारु समुदायको महान् चाड माघी पर्व तथा मगर समुदाय लगायत अन्य समुदायले मनाउने चाड माघे संक्रान्ति (मकर संक्रान्ति) को अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ। माघ महिनाको १ गते मनाइने यस पर्वलाई थारु समुदायले माघी भनेर मनाउँछन् र नयाँ वर्ष मान्ने गर्छन् । मगर समुदायले पनि यसलाई आफ्नो मुख्य चाडको रुपमा धुमधामका साथ मनाउँछन् भने नेपालको समस्त भूभाग, हिमाल, पहाड र तराईमा यो पर्वलाई आ-आफ्ना परम्परा, भिन्न भिन्न विशेषता र प्रकृतिले मनाउने गरेका छन्।
सुत्केरीको हवाई उद्धार मान्म । कालीकोटमा एक सुत्केरीको हवाई उद्धार गरिएको छ । स्थानीय स्वास्थ्यचौकीमा अत्यधिक रक्तस्राव भएपछि उनलाई हवाई उद्धार गरेर कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको हो । रास्कोट नगर अस्पतालमा सुत्केरी भएकी रास्कोट नगरपालिका–८ वाहरकोटकी १७ वर्षीया सङ्गीता लुवारलाई हवाई उद्धार गरिएको हो । नगर अस्पतालमा सुत्केरी भएकी लुवारको अत्यधिक रक्तस्राव भएपछि हवाई उद्धार गरिएको नगरपालिका प्रमुख धर्मराज शाहीले जानकारी दिए । “अस्पतालमा शिशु जन्माएपछि अत्यधिक रक्तस्रावका कारण आमा र नवजात शिशुको हेलिकोप्टरमार्फत उद्धार गरेर प्रदेश अस्पताल लगिएको छ”, उनले भने, “अहिले अस्पतालमा आमा र शिशुको उपचार भइरहेको छ । दुवैको अवस्था खतरामुक्त रहेको खबर पाएका छौँ ।” राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार गरिएको नगरप्रमुख शाहीले जानकारी दिए । “नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो”, उनले भने, “राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत उद्धार भएकाले उद्धारका लागि लागेको खर्च सबै सरकारले नै बेहोर्ने छ ।”