content
stringlengths 20
64.1k
⌀ |
---|
झापामा १०२ मिटरब्याज पीडितद्वारा उजुरी झापा। अनुचित लेनदेन (मिटरब्याज) बाट पीडित एक सय दुई जनाले जिल्ला प्रशासन कार्यालय झापामा उजुरी दिएका छन्। गत वैशाख १७ देखि जेठ १४ गतेसम्म दुई पटक म्याद थपेर सरकारले उजुरी दर्ताका लागि सूचना जारी गरेपछि पीडितले धमाधम निवेदन दिन थालेका हुन्।
तीन जना विपक्षीले समेत जिल्ला प्रशासन कार्यालयमा निवेदन दर्ता गराएको सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले जानकारी दिए। निवेदन दर्ता गराउनेहरु वार्षिक ३६ प्रतिशत ब्याज तिर्ने शर्तमा जग्गा धितो पास गराउने अत्यधिक रहेका छन्।
मिटरब्याजी साहुले लिएको ऋणभन्दा बढीको कागज बनाएको, ऋण तिरेपछि पनि अझै धेरै ऋण बाँकी रहेको भन्दै कागज देखाएर घर जग्गा आफ्नो नाममा पास गरेका, सापटी पैसा लगेर पैसा नभएका बैंकको चेक दिएकालगायत उजुरी छन्।
जिल्लाका १५ पालिकामध्ये शिवसताक्षी र दमक नगरपालिकाबाट उजुरी बढी परेको न्यौपाने बताउँछन्। उनले मिटरब्याजपीडितले रु पाँच लाखदेखि रु एक करोडसम्मको कारोबारको दाबी गरिएको उजुरी परेको जानकारी दिए। कार्यालयमै मिटरब्याजपीडित सहायता कक्षमा निवेदन दर्ता गराउने गरिएको छ।
सहायक प्रजिअ न्यौपानेले हालसम्म परेका पाँचभन्दा बढी उजुरीउपर छलफल गरी लेनदेन गर्ने व्यक्तिबीच आपसी सहमति भएको बताए। प्रशासनले मिटरब्याजपीडितलाई अन्तिमपटक यही जेठ १४ गतेभित्र निवेदन दिइसक्न सूचना जारी गरेको थियो। निवेदन दिन म्याद सकिएको दुई दिनपछि मंगलबार पनि थप दुई जनाको उजुरी परेको छ। – रासस |
उपप्रधानमन्त्री खड्काकी बुहारीको सवारी दुर्घटनामा परी निधन बाँके। सवारी दुर्घटनामा परी उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काकी बुहारीको मृत्यु भएको छ। मंगलबार साँझ भएको सवारी दुर्घटना परी घाइते भएकी उपप्रधानमन्त्री खड्काको माइली बुहारी सञ्जु खडकाको उपचारको क्रममा मृत्यु भएको हो। साथै, सो कारका चालक गोरखा आँपपिपल-५ का ३७ वर्षीय सुवास अधिकारीको पनि मृत्यु भएकाे छ।
कोहलपुरका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीका अनुसार बाँकेवाट सुर्खेततर्फ जाँदै गरेको उनीहरु सवार कार बाँकेको राप्तीसोनारी गाउँपालिका-८ मुगुवा खोलानजिकै बससँग ठोक्किन पुगेको थियो।
सो दुर्घटना पछि खड्का, उनका चालक र बसमा यात्रारत ८ जनालाई उपचारका लागि कोहलपुर मेडिकल कलेज ल्याइएको थियो। तर, उपचारका क्रममा सञ्जु खड्का र उनका सवारी चालक अधिकारीको मृत्यु भएको हो।
मृतक सञ्जु खड्का उपप्रधानमन्त्री खड्काका माइला भाइ डम्बर खड्काकी श्रीमती हुन्। मृतक सञ्जु र डम्बरका दुई छोरा छन्। उनका श्रीमान डम्बर कर्णाली प्रदेश अस्पतालका निर्देशकसमेत हुन्।
कार र बस एक आपासमा ठोक्किँदा कार पुरै क्षतिग्रस्त भएको छ भने बसको अगाडिको भाग पूर्ण रुपमा क्षति भएको छ। |
नेपाल–भारत सम्बन्ध जीवन्त बनाउनुपर्छ : महासचिव पोखरेल काठमाडौं । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न भ्रमणमा नेपाल–भारत सम्बन्धलाई जीवन्त बनाउनुपर्ने बताएका छन् ।
एमाले केन्द्रीय सम्पर्क समन्वय कमिटीले आज ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आयोजना गरेको ‘प्रधानमन्त्रीको भारत भ्रमण र नेपालको राष्ट्रिय सरोकार’ विषयक छलफलमा उनले भारतसँग सम्बन्ध फराकिलो र समस्या पनि जटिल रहेको भन्दै समस्यामा केन्द्रित भएर छलफल गरेर सम्बन्धलाई जीवन्त बनाए ।
उनले नेपाली जनता असहज ठानेका सन्धिलाई पुनरावलोकन गर्नुपर्ने भन्दै भारतीय पक्षलाई नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी) प्रतिवेदन बुझ्न दवाव सिर्जना गर्नुपर्ने भनाइ राखे । इपिजी प्रतिवेदन नेपाल र भारत सम्बन्धको नयाँ आधारपत्र रहेको भन्दै इपिजी बुझ्न जति ढिला हुन्छ, त्यति नै सम्बन्धमा असर पर्ने महासचिव पोखरेलको भनाइ थियो ।
“इपिजीको प्रतिवेदन बुझ्ने र कार्यान्वयन गर्ने प्रक्रियामा नेपालको जोड हुनुपर्दछ । इपिजी नेपाल हितको सर्वाधिक महत्व विषय हो । त्यसको आधारमा नयाँ सम्बन्ध बनाउने गर्नुपर्दछ”, उनले भने । जोसँग धेरै सम्बन्ध हुन्छ त्यहीसँग खटपट हुने गरेको उल्लेख गर्दै उनले खटपट धेरै भयो भने सम्बन्धलाई असर पार्ने तहमा पुग्ने हो कि भन्ने चिन्ता रहेको बताए ।
महासचिव पोखरेलले जल यातायात माध्यमबाट ट्रान्जिट रुट बनाउने कुरा नेपालको प्राथमिकता रहनुपर्ने बताए । “गङ्गा नदीमा जल यातायातको अध्ययन इलाहावादसम्म भएको मैले बुझेको छुु”, उनले भने, “कुनै विन्दुबाट नेपालका नदीमा जल यातायात गर्ने सम्भावना रहन्छ । त्यो विषयमा पनि सरकारको ध्यान जान जरुरी रहेको छ ।”
परराष्ट्रविद् हीरण्यलाल श्रेष्ठले चीन र भारतको विरुद्धको सैनिक गठबन्धन गर्न नहुने बताए । उनले १९५० को शान्ति तथा मैत्री सन्धि पुनरावलोकन गर्नुपर्ने भनाइ राखे । नेपाल र भारतका विज्ञ तयार पारेको इपिजी प्रतिवेदन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुझ्नुपर्ने बताए
अर्का परराष्ट्रविद् सूर्यनाथ उपाध्यायले राजनीतिक दलका नेतालाई कडाइका साथ भारतसँग आफ्नो अडान राख्नुपर्ने बताए । उनले जुनसुकै बेला देशका लागि एउटै विचार राख्नुपर्ने बताए ।
सीमाविद् बुद्धिनारायण श्रेष्ठले भारत बनाएका बाँधले गर्दा धेरै नेपाली जनता डुबानमा परेको भन्दै सीमामा बनेका बाँध भत्काउनुपर्ने बताए । उनले नेपाल भारतबीचका धेरै सीमा विवाद रहेकाले प्रधानमन्त्री दाहालले यसपटकको भ्रमणमा सीमा विवाद समस्या समाधान गर्नका लागि भारतीय प्रधानमन्त्री मोदीसँग कूटनीतिक कुरा गर्नुपर्ने बताए । |
विराटनगरमा विषादी प्रयोग गरिएका आँप छ्यापछ्याप्ती विराटनगर । मोरङको विराटनगर बजार क्षेत्रमा विषादी प्रयोग गरी पकाइएका आँप छ्यापछ्याप्ती रुपमा बिक्री वितरण भइरहेका छन् ।
सरोकारवाला निकायले अनुगमन नगर्दा व्यापारी विषादी प्रयोग गरिएका आँप महङ्गोमा बिक्री गरिरहेका छन् । नाफा कमाउन समयभन्दा पहिला नै आँप बजारमा बेच्न थालिएको छ । यसका लागि अत्यधिक विषादी प्रयोग गर्ने गरेको पाइएको छ । व्यापारीले पाक्नुभन्दा अघिनै रूखबाट आँप टिप्ने र विषादी प्रयोग गर्ने क्रम चलिरहेको छ ।
विषादी प्रयोग गरिएका आँप खाँदा स्वास्थ्य असर पर्ने जोखिम छ । भारतसितको खुला सीमाका कारण व्यापारीले सस्तोमा काँचो आँप नेपाल भित्र्याउने गरेका छन् । काँचो आँप ल्याउने र कार्बाइडको प्रयोगबाट पाकेका आँप बजारमा बेच्ने प्रवृत्ति मौल्याएको हो । आँपमा विषादी प्रयोग गरिँदा छिटो पाके पनि यस्तो आँप खानु स्वास्थ्यका लागि हानिकारक हुने चिकित्सक बताउँछन् ।
विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले खाद्य पदार्थमा अनुमतिबिना विषादी प्रयोग गरी बिक्री वितरण गर्न नपाइने बताउँछिन् । बजेट निर्माणको चटारो भएका कारण बजार क्षेत्रमा नियमित अनुगमन गर्न नसकिएको उनको भनाइ छ । “यसको फाइदा उठाएर केही व्यापारीले विषादी प्रयोग गरी आँप बिक्री गर्नेगरेको जानकारीमा आएको छ”, कार्कीले भनिन् । उनले काँचो आँपमा विषादी हालेर बिक्री वितरण नगर्न सबैमा आग्रह गरिन् ।
सुनसरीको झुम्कास्थित कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्रका माटो विज्ञ डिगम्बर यादवले अत्याधिक मुनाफा आर्जनका लागि केही व्यापारीले विषादी प्रयोग गरी आँप बजारमा बिक्रीका लागि ल्याउने गरेको पाइएको बताए । यस्तो आँपको स्वाद पनि राम्रो नहुने र स्वास्थ्यलाई फाइदा नपु¥याउने उनी बताउँछन् ।
विराटनगर–२ स्थित मुस्कान फलफुल सेन्टरका सञ्चालक मोहम्मद इसलाम ठूला व्यापारीले नभइ केही साना व्यापारीले बढी मुनाफा कमाउने लोभमा आँपमा विषादी प्रयोगल गर्ने गरेका बताउँछन् । यसबाट ठूला व्यापारीलाई समेत समस्या भएको उनको भनाइ छ । कोसी अस्पतालका इमरजेन्सी विभागका इन्चार्ज गजेन्द्र यादवले विषादी मिसाएको आँप खानाले झाडापखाला लाग्ने, जीउ चिलाउने, वान्ता हुने जस्ता समस्या देखिने बताए । विषादीयुक्त आँप बजारमा बेच्न थालेसँगै झाडापखाला, वान्तालगायतका बिरामी उपचारका लागि दैनिक अस्पताल आउने गरेका बताए । |
संघीय बजेटले छोएन मुगुलाई, सधैं उपेक्षित गरेको स्थानीयको आरोप मुगु। नेपाल सरकारका अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार करिब ३ घण्टा लामो समय खर्चिएर सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटले मुगु जिल्लालाई गतिल्लोसँग छुन सकेन।
सरकारले आर्थिक वर्ष २०८०/०८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट सार्वजनिक गर्दा मुगुको विकास र समृद्धि तथा यस क्षेत्रको स्वास्थ्य, शिक्षा, गरिबी निवारणलगायतका क्षेत्रमा तोकेर बजेट विनियोजन नहुँदा मुगुवासीमा खुसीको सञ्चार गराउन सकेन ।
मुगुको सडक, पर्यटीकयस्थल, धार्मिकस्थल होस या ग्रामीण सडक, पर्यटकीय मार्गका लागि तोकेर बजेट विनियोजन नगरिएको स्थानीयको आरोप छ ।
कर्णाली प्रदेशको मुख्य पर्यटकीय स्थल रारा र धार्मिक पर्यटकीय स्थल प्रशिद्ध धाम छायाँनाथ पर्यटकी पथ मार्गको विकास लागि निजी क्षेत्रलाई अनुरोध गर्ने भनिए पनि कुन निकायलाई भनिने कुनै निश्चित गरिएको छैन । यसले मुगुलाई राज्यले सधै उपेक्षित गरेको यहाँका स्थानीयको बुझाइ छ ।
बजेटमा रारा खप्तड पर्यटकीय पथमार्ग, मगगढी नाक्चे लाग्ना सडक खण्ड र गोठिज्युला कालाकाडा खत्याड सडक लगायत नाम कतै सुनिएन । मुगुका कुनै गौरवका योजना कहिले नसमेटिनु तथा मुगु राज्यको नजरमा पर्न नसक्नु र विकासमा सधै उपेक्षामा पर्नु दुखद् कुरा भएको नागरिक समाज मुगुका अध्यक्ष रुपबहादुर मल्लले बताए ।
चीनको नाकासँग जोडिने गमगढी नाक्चे लाग्ना सडक होस् वा संसारमा परिचित पर्यटकीय स्थल रारा र छायाँनाथ धाम जस्ता धार्मिक स्थलको लागि आवश्यक बजेट सरकारले ल्याउन नसक्नु मुगु र मुगाली जनतालाई उपेक्षा गरिएको धारणा राख्छ्न् अध्यक्ष मल्लले । |
‘लम्पी स्किन’बाट धमाधम पशु मर्न थाले जलेश्वर। महोत्तरी जिल्लाको बर्दिबास नगरपालिकाको एउटै वडामा एक सय ५० बढी गाईगोरुमा ‘लम्पी स्किन रोग’ देखा परेको छ। बर्दिबास–१० खयरमारामा स्थानीयले पालेका गाईगोरुमा लम्पी स्किन रोग देखिएको स्थानीय पशुपालक कृष्णबहादुर थापाले बताए।
उनका अनुसार विगत १०–१५ दिनदेखि गाउँमा रोगले समस्या हुँदै गएको र अहिलेसम्म १० पशु मरिसकेको छन्। केही दिनदेखि पशुको छालामा अचानक नयाँ खालको संक्रमण देखिन थालेको, जीउभरि गिर्खा आउन थालेको, घाउजस्तो भएर पिप बग्न थालेको, उच्च ज्वरोलगायतका लक्षण देखिएको र अहिलेसम्म १० पशु मरिसकेको स्थानीय पशुपालक वीरेन्द्र थापाले बताए।
बर्दिबास नगर प्रमुख प्रल्हदकुमार क्षेत्रीले खयरमाराका पशुमा लम्पी स्किन देखिएको र यसको रोकथाम र उपचारका लागि पशु चिकित्सकसँग परामर्श सहित आवश्यक औषधिको व्यवस्थापन गर्न लागेको बताए।
महोत्तरीमा रहेको १५ स्थानीय तहमध्ये अधिकांश स्थानीय तहमा लम्पी स्किन रोग फैलिएको जनाइएको छ। जिल्लाभर यस रोगबाट अहिलेसम्म करिब २० गाईगोरु मरेका छन्। लम्पी स्किन रोग अहिले जिल्लाभरि फैलिँदासमेत भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र महोत्तरीले चासो नदेखाएको पशु पालक किसानले गरेका छन्।
लम्पी स्किन संक्रमित पशुको शरीरका भागमा गिर्खा आउने, घाउ हुने पाक्ने, पिप बग्ने, उच्च ज्वरो आउने लक्षण देखिएको छ भने लम्पी स्किन रोगले सबैभन्दा बढी दुधालु गाईलाई प्रभावित पार्ने गरेको जनाइएको छ। लम्पी स्किन लागेका पशुबाट दूध उत्पादनमा ५० प्रतिशत बढी ह्रास आउने छ। पशुसेवा विज्ञ केन्द्रका सूचना अधिकारी सूर्यदेव यादवले रोग नियन्त्रणका लागि आवश्यक प्रयास भइरहेको बताए। – रासस |
यस्ता छन्, संघीय बजेटमा समेटिएका कर्णालीका मुख्य आयोजनाहरु सुर्खेत। सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको छ।
सरकारले कर्णाली प्रदेशका दश वटै जिल्लामा लिप्ट सिंचाई सुविधा पुर्याउन ‘कर्णाली एकीकृत कर्णाली सिंचाई आयोजना’ सञ्चालन गर्ने र अर्गानिक उत्पादन (कोदो, फापर, जौ लगायतका) बस्तुको खरिद गर्ने घोषणा गरेको छ।
यस्तै कर्णालीमा महिलाहरुका लागि बढी लाभदायी मानिएको राष्ट्रपति महिला उत्थान कार्यक्रमलाई यो वर्ष पनि निरन्तरता दिइएको छ। बजेटमा घोषणा गरिएका आयोजना मध्ये प्रदेश राजधानी सुर्खेतमा सबैभन्दा धेरै आयोजनाहरु समेटिएका छन्।
सरकारले सुर्खेतमा औषधि परीक्षण प्रयोगशालाको स्थापना, भेरीगंगाको छिन्चुमा निर्माणाधिन सरुवा रोग अस्पताल, सुर्खेत मेडिकल कलेज स्थापनाको कामलाई अगाडि बढाउने, पञ्चपुरीमा जलबायु अनुकुल खानेपानी आयोजना, भेरी पम्पिङ आयोजना सञ्चालन, मदन भण्डारी राजमार्ग अन्तरगत सुर्खेत खण्डको निर्माण गर्ने र राता नाङलाको राडारलाई पूर्ण रुपमा सञ्चालन गर्ने घोषणा गरेको छ।
यस्तै, सुर्खेतको भेरी बबई बहुउद्देश्यीय आयोजनालाई सरकारले १ अर्ब १४ करोड बजेट बिनियोजना गरेको छ। आयोजनाको र पावर हाउस निर्माणका लागि यो बजेट बिनियोजना गरिएको हो। आयोजनाबाट बाँकी र बर्दियाको ५१ हजार हेक्टर जमिनमा सिंचाई सुविधा पुर्याइने छ।
यसैगरी सुर्खेतमा नमूना आवासीय सामुदायिक विद्यालय स्थापनाको लागि सम्भाव्यता अध्ययन तथा पूर्ण सञ्चालनको प्रक्रिया अगाडि बढाउने र भेरीगंगा उपत्यकाको शहरी विकासका लागि गुरुयोजना निर्माण जस्ता आयोजनाहरु समेटिएका छन्।
यस्तै दैलेखका तीन वटा महत्वूर्ण आयोजनाहरु समेटिएका छन्। जसमध्ये पेट्रोलिय पदार्थको उत्खननको सबैभन्दा ठूलो आयोजना हो। सरकारले पेट्रोलियम पदार्थ उत्खनन्को बाँकी काम अगाडि बढाउन बजेट बिनियोजना गरेको घोषणा गरेको छ । राकम कर्णालीमा स्याटालाईट अस्पताल स्थापना गरिने भएको छ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको मातहतमा रहने गरी १०० शैयाको स्याटालाईट अस्पताल स्थापना गरिने भएको हो। आठविस नगरपालिकाको राममा स्याटालाईट अस्पताल स्थापना तथा सञ्चालन गर्ने घोषणा गरेको हो। सरकारले दैलेखको पञ्चकोशी क्षेत्रको संरक्षण, पूर्वाधार निर्माण र सौन्दर्यकरण र महावुमा जलबायु अनुकुल खानेपानी आयोजना निर्माण गर्ने घोषणा गरेको छ।
यस्तै जुम्लामा विमानस्थलको स्तरोन्नति र मार्सी चामलको बान्डिङ महत्पूर्ण आयोजनाहरु हुन्। सरकारले मार्सी ब्रान्डिङ मात्र नभएर मार्सी धान खरिद समेत गर्ने घोषणा गरेको छ। यस्तै जुम्लाको चर्चित धार्मिक पर्यटकीय स्थल चन्दननाथको विकासका लागि बजेट बिनियोजना गरेको छ।
रुकुमपश्चिममा सरकारले तीन ठूला तथा रणनीतिक आयोजनाहरु सञ्चालन गर्ने घोषणा गरेको छ। जसमध्ये रुकुम जिल्ला सदरमुकामसम्म जोड्ने राप्ति राजमार्गको स्तरोन्नति सर्वसाधारण नागरिकका लागि सबैभन्दा महत्वपूर्ण आयोजना हो।
हाल यात्रु अभावका कारण बन्द अवस्थामा रहेको चौरजहारी विमानस्थलको स्तरोन्नति र पर्यटकीय क्षेत्रमा पदमार्ग पनि स्थापना गर्ने घोषणा गरेको छ।
यस्तै सल्यानमा सरकारले तीन वटा वटा ठूला आयोजना समेटेको छ। जसमध्ये राप्ति राजमार्गको स्तरोन्नति महत्वपूर्ण आयोजना हो। रुकुमपश्चिमको सदरमुकामसम्म जोड्ने यो आयोजनाको लाभ सबैभन्दा सल्यानले नै लिइरहेको छ।
राप्ति राजमार्गको स्तरोन्नतिका लागि सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ मा ९० करोड बजेट बिनियोजना गरेको छ। यस्तै पर्यटकीय क्षेत्र छत्रेश्वरीको विकास तथा संरक्षणका लागि पनि सरकारले बजेट बिनियोजना गरेको घोषणा गरेको छ। यस्तै विश्वमै पर्खात सल्यानको अदुवाको बाण्डिङ समेत गर्ने घोषणा गरेको छ।
यस्तै कालिकोट, मुगु र हुम्लालाई संयुक्त रुपमा जोड्ने खुलालु-सल्लीसल्ला सडकको स्तरोन्नतिका लागि ९७ करोड बजेट बिनियोजना गरेको छ। यो सडक तीन वटै जिल्लाका लागि उतिकै महत्वपूर्ण आयोजना हो। कर्णाली करिडोर अन्तरगत पर्ने यही सडकले नै हुम्ला सदरमुकामलाई जोड्ने गर्दछ।
सरकारले हुम्ला सरदमुकामलाई आउँदो चालु आर्थिक वर्षभित्रै राष्ट्रिय सडक सञ्जालमा जोड्ने घोषणा गरेको छ। जसका लागि आउँदो आर्थिक वर्षभित्र बाँकी खण्डको ट्याक खोल्ने काम सम्पन्न गर्ने घोषणा गरेको छ।
दैलेख, कालीकोट, मुगु र हुम्लामा राष्ट्रिय विद्युत प्रसारणलाई विस्तारका लागि कर्णालीमा ४ सय मेघावाट विद्युतलाईन विस्तार गर्ने योजना पनि बजेटमा समेटिएको छ।
यस्तै सरकारले जाजरकोट र डोल्पालाई संयुक्त रुपमा जोड्ने भेरी करिडोको स्तरोन्नतिका लागि ५० करोड बजेट बिनियोजना गरेको छ। यस्तै ट्याक खोल्न बाँकी रहेको जाजरकोटको मध्यपहाडी लोकमार्गको बाँकी काम पनि सम्पन्न गर्ने घोषणा गरेको छ।
डोल्पाको जगदुल्ला जलविद्युत आयोजनाको पनि सञ्चालनमा ल्याउने सरकारले बजेटमा घोषणा गरेको छ। यस्तै सरकारले हिमाली जिल्लामा रहेका एक सय बर्ष पुराना गुम्वाहरुको संरक्षण गरिने उल्लेख छ। यसबाट कर्णालीका हुम्ला, मुगु र डोल्पा जिल्लाले लाभ पाउने अपेक्षा देखिन्छ। |
लुम्बिनी प्रदेश : कानुन निर्माण प्रभावकारी, कार्यान्वयन फितलो लुम्बिनी। जनतामा सम्पूर्ण अधिकार निहित हुने गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था गणतन्त्र स्थापना भएको डेढ दशक पुगेको छ। जननिर्वाचित पहिलो विसं २०६५ जेठ १५ गते संविधानसभाबाट निरंकुश राजतन्त्रको अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो।
दोस्रो संविधानसभा निर्वाचनबाट निर्वाचित सभाले २०७२ असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएपछिको अवधिमा संविधान कार्यान्वयनकै प्रक्रियामा रहेको छ। संविधान कार्यान्वयका क्रममा यस अवधिमा अहिले जनप्रतिनिधिमूलक निकाय संघीय संसद्, प्रदेशसभा र स्थानीय तहका दोस्रो कार्यकालका लागि निर्वाचन सम्पन्न भएका छन्। निर्वाचन पश्चात तीनवटै तहमा दोस्रो कार्यकालका लागि सरकार गठन भएर शासन सञ्चालनमा रहेका छन्।
संविधान कार्यान्वयका लागि तीन तहका सरकारले विभिन्न कानुन निर्माण र कार्यान्वयन गर्ने प्रयास गरेपनि संविधानअनुसार निर्माण हुनुपर्ने थुप्रै ऐन, कानुन र नियम निर्माणमा ढिलाइले जनताका अधिकार स्थापित हुन सकेका छैनन्। कतिपय निर्माण गरिएका ऐन कानुन संविधान, ऐन, कानुनसँग बाझिएका कारण पनि कार्यान्वयनमा समस्या परेको छ। यसका साथै निर्माण गरिएका कानुन आवश्यक नियमावली समयमा बन्न नसक्दा कार्यान्वयन पक्ष फितलो बनेका छन्।
नेपालको संवैधानिक व्यवस्था बमोजिम संविधान कार्यान्वयनको क्रममा संघीय संरचनाअन्तर्गत बनेको लुम्बिनी प्रदेशको पहिलो प्रदेशसभाको दुई तिहाइ सदस्यले राजनैतिक स्थायित्वका लागि संवैधानिक व्यवस्थाअनुसार स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी) र प्रदेशको नामकरण लुम्बिनी तोक्ने काम सम्पन्न गरिसेका छन्।
प्रदेशसभाले प्रदेश सरकार र स्थानीय तहका लागि संविधानको अनुसूची ६, ७ र ९ मा व्यवस्था गरेअनुसार कानुन निर्माण गर्ने व्यवस्था छ। ती अनुसूचीमा भएको व्यवस्थाअनुसार कानुन निर्माणमा अनुसूची ६ मा प्रदेशको एकल अधिकारका कानुन निर्माणमा प्रदेशसभालाई जति सजिलो भए पनि अनुसूची ७ मा रहेको संघ र प्रदेशका साझा अधिकारका कानुन निर्माणमा र अनुसूची ९ मा रहेको संघ, प्रदेश र स्थानीय तहका अधिकारका साझा सूचीका कानुन निर्माणमा संघले समयमै कानुन निर्माण नगरेकाले प्रदेशसभालाई कानुन निर्माणमा समस्या देखिएको छ।
मुलुक संघीय संरचनामा गइसकेपछि प्रदेशमा प्रदेशसभाले कानुन निर्माणको भूमिका निर्वाह गरेको छ। संसदीय प्रणालीको प्रचलित अभ्यासअनुसार प्रदेशसभाले प्रदेशमा प्रदेश सरकार गठन गर्ने, विधेयक पारित गर्ने, प्रदेश सरकारको नीति कार्यक्रम र बजेट पारित गर्ने, सरकार तथा सरकारी निकायको संसदीय निगरानी तथा नियन्त्रण जस्ता प्रमुख जिम्मेवारी बहन गर्दै आएको छ।
लुम्बिनी प्रदेशसभाले हालसम्म संविधानले व्यवस्था गरेअनुसार अनुसूची ६ अनुसार एकल अधिकारी सूचीका कानुन, ७ मा रहेको सङ्घ र प्रदेशका साझा अधिकार सूचीका कानुन र अनुसूची ९ मा रहेको संघ, प्रदेश र स्थानीय तहका अधिकारका साझा सूचीका कानुन गरीविभिन्न आर्थिक वर्षको प्रारम्भमा सरकारले ल्याउने बजेटसँग सम्बन्धित अर्थ विधेयक र केही संशोधित कानुनसहित ७२ कानुन निर्माण गरेको छ। यि कानुन सबै प्रदेशसभाको पहिलो कार्यकालमा बनेका हुन्।
प्रदेशसभाको पहिलो कार्यकालले बनाएका ७२ विधेयकमध्ये ५५ मूल कानुन र अन्य कतिपय संशोधन विधेयक र सांगठानिक विधेयक रहेका लुम्बिनी प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले बताए।
सरकारले प्रदेशसभामा प्रस्तुत गरेका विधेयक अधिकांश आवश्यकताकै आधारमा आएको र प्रदेशसभामा आएका विधेयक विषयगत समितिमा आवश्यकताका आधारमा विज्ञसँगको छलफलसहित आउने भएकाले धेरै कानुन कार्यान्वयनमा पनि प्रभावकारीनै हुने उनले बताए।
नेपालको संविधान २०७२ को धारा २६८ को उपधारा २ मा प्रत्येक प्रदेशमा प्रहरी संगठन रहने व्यवस्था गरेको छ। सोहीअनुसार लुम्बिनी प्रदेशले प्रदेश प्रहरी ऐन बनाएको एक वर्ष हुन थालेको छ।
असार १५ गते प्रदेश प्रहरी ऐन ल्याएको लुम्बिनी प्रदेश सरकार सो ऐन कार्यान्वयनका लागि संघीय सरकारबाट प्रहरी समायोजन कहिले होला भन्दै कुर्नुपरेको प्रदेश सरकार आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयकी कानुन अधिकृत सीता घिमिरे बताउँछन्।
प्रदेशमा सुरक्षाको प्रत्याभूति दिलाउन ऐन प्रभावकारी हुने भए पनि प्रहरी समायोजन नहुँदा ऐनअनुसार प्रदेश सरकारमातहत प्रहरी आउन सकेको छैन। उनी संघीय सरकारले प्रहरी समायोजन नगर्दासम्म प्रदेशले ऐन बनाएपनि कार्यान्वयन हुन नसक्ने बताउँछन्।
प्रदेश सरकारले प्रदेशमा सञ्चार क्षेत्रलाई व्यवस्थित गर्न प्रदेश सञ्चार माध्यम सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७९ निर्माण भएको पनि करिब एक वर्ष बितेको छ। यो ऐन कार्यान्वयनका लागि हालसम्म विनियमावली बन्न सकेको छैन।
सरकारले ऐनकअनुसार प्रदेश सञ्चार प्रतिष्ठानको अध्यक्ष र सदस्य नियुक्ति गरेपनि मुख्य कार्यकारी जिम्मेवारी रहेको रजिष्ट्रार नियुक्त हुन नसक्दा ऐन कार्यान्वयन प्रभावकारी बन्न नसकेको कानुन अधिकृत घिमिरे बताउँछन्।
उनका अनुसार प्रदेश सरकारले अहिलेसम्म बनाएका कानुनमध्ये धेरैजसो सेवा र सुशासनसम्बन्धी ऐन बनेर कार्यान्वयनमा रहेका छन्।
वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सडक निर्माण, मर्मत सम्हार तथा विस्तार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, बजार नियमन तथा प्रस्तिस्पर्धा प्रवर्द्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक जस्ता कानुन निर्माण हुनु प्रदेश सरकारले सेवा र सुशासनलाई प्राथमिकतामा राखेको देखिन्छ।
सरकारले मुख्य प्राथमिकतामा राखेर बनाउनुपर्ने राजस्व संकलनसम्बन्धी कानुन पहिचान भएपनि बन्न सकेका छैन। राजस्व संकलनसम्बन्धी कानुन नबन्दा प्रदेशको राजस्व संकलनमा प्रभाव परेको उनी बताउँछन्।
औद्योगिक व्यवसायसम्बन्धी प्रचलित प्रदेश कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, लुम्बिनी प्रदेश अनुसन्धान ब्युरोको स्थापना, काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, जीवनाशक विषादी नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, विज्ञान प्रविधि तथा बहुप्राविधिक प्रतिष्ठानको स्थापना तथा सञ्चालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभाबाट पास भएर प्रमाणीकरण भएका छन्।
लुम्बिनी प्रदेश सरकारले संविधानमा भएको व्यवस्था बमोजिम कानुन निर्माणमा प्रभावकारिता देखाएको छ। यसको कार्यन्वयन पक्ष भने फितलो रहेको प्रदेश सरकारका कानुन आयोगमा रहेर काम गर्नुभएका अधिवक्ता खुमकान्त पौडेल बताउँछन्।
प्रदेश सरकारले आवश्यकताका आधारमा महत्वपूर्ण कानुन निर्माण गरेपनि प्रदेशमा राजनीतिक अस्थिरताका कारण कार्यान्यवनमा समस्या देखिएको अधिवक्ता पौडेल बताउँछन्। “आवश्यकताका अनुसार प्राथमिकताका आधारमा ऐन बनेका छन् तर कार्यान्वयन गर्ने पक्षको इच्छाशक्तिको कमिले धेरै कानुन काम चलाउन जस्तो बनाइएको छ”, उनले भने, “कानुन बनाएको सङ्ख्या गणना गर्ने मात्र भयो तर नियमावली नबन्दा काम चलाउन भएका छन्।”
सेवा प्रभावलाई व्यवस्थित र प्रभावकारी बनाउन प्रदेश नं ५, प्रदेश पर्यटनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, प्रदेश नं ५, प्रदेश नं ५, बालबालिकाको हकअधिकार संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश नं ५, प्रदेश स्वास्थ्य संस्था स्थापना, सञ्चालन, नवीकरण तथा स्तरोन्नति गर्न बनेको विधेयक जस्ता कानुन प्रभावकारी बनेका छन्।
प्रदेश नं ५, प्रदेश पशु वधशाला तथा मासु जाँच सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश नं ५, पशुस्वास्थ्य तथा पशु सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,प्रदेश नं ५, मल व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश नं ५, दाना पदार्थ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश नं ५, बीउविजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पनि सेवा प्रभावसँग सम्बन्धित रहेका छन्।
कानुन निर्माणका क्रममा सम्बन्धित क्षेत्रका विज्ञहरुको परामर्श र सरोकारवालासँगको छलफल हुनुपर्ने लेखक युवराज कँडेलले बताउँछन्। प्रदेशमा निर्माण भएका दुई तिहाइ कानुन त सरकार सञ्चालनसँग सम्बन्धित जनतासँग प्रत्यक्ष सरोकार नभएका कानुन रहेको उनको भनाइ छ।
“जनतासँग जोडिएका विषयमा कानुन नबन्ने, कानुन आवश्यकता र अनुसन्धानका आधारमा बनाउने भन्दा काम देखाउनका लागि मात्र कानुन बनाएको देखिन्छ”, उनले भने, “पहिला आवश्यकता के छ भनेर अध्ययन गर्ने, सरोकारवालासँग छलफल गर्ने र त्यसका आधारमा कानुन निर्माण नगर्दा कतिपय कानुन कार्यान्वयनमै आउन सकेका छैनन्।” |
कैलालीमा मिटर ब्याजीविरुद्ध २४४ उजुरी दर्ता धनगढी। कैलालीमा मिटरब्याजी (अनुचित लेनदेन)विरुद्ध दुई सय ४४ उजुरी परेका छन्।
सरकारले मिटरब्याजीविरुद्ध उजुरी दिन आह्वान गरेपछि दुई सय ४४ मिटरब्याजी पीडितले जिल्ला प्रशासन कार्यालय कैलालीमा उजुरी दिएका हुन्।
उजुरी परेका साहुकारहरूलाई जिल्ला प्रशासन कार्यालयमा बोलाई मिलापत्र गराउने र मुद्दा चलाउन मिल्ने माथि सम्पत्ति शुद्धीकरणलगायत मुद्दा प्रक्रिया अगाडि बढाइने बताइएको छ।
मिटरब्याजी साहुले लिएको ऋणभन्दा बढीको कागज बनाएको र ऋण तिरे पछि पनि अझ धेरै ऋण बाँकी रहेको भन्दै कागज देखाएर घर घडेरी नै आफ्नो नाममा पास गर्न थालेपछि त्यस विरुद्ध पीडितले प्रशासनमा उजुरी दर्ता गएका हुन्।
सरकारले अध्यादेशमार्फत अनुचित लेनदेनसम्बन्धी कानुन बनाएर उजुरी लिन सुरु गरेको थियो। |
कैलालीमा मिटरब्याजीविरुद्ध २४४ उजुरी दर्ता धनगढी । कैलालीमा मिटरब्याजी (अनुचित लेनदेन)विरुद्ध दुई सय ४४ उजुरी परेका छन्। सरकारले मिटरब्याजीविरुद्ध उजुरी दिन आह्वान गरेपछि दुई सय ४४ मिटरब्याजीपीडितले जिल्ला प्रशासन कार्यालय कैलालीमा उजुरी दिएका हुन्।
उजुरी परेका साहुकारहरूलाई जिल्ला प्रशासन कार्यालयमा बोलाई मिलापत्र गराउने र मुद्दा चलाउन मिल्नेमाथि सम्पत्ति शुद्धीकरणलगायत मुद्दा प्रक्रिया अगाडि बढाइने बताइएको छ। मिटरब्याजी साहुले लिएको ऋणभन्दा बढीको कागज बनाएको र ऋण तिरेपछि पनि अझ धेरै ऋण बाँकी रहेको भन्दै कागज देखाएर घर, घडेरी नै आफ्नो नाममा पास गर्न थालेपछि त्यस विरुद्ध पीडितले प्रशासनमा उजुरी दर्ता गएका हुन्।
सरकारले अध्यादेशमार्फत अनुचित लेनदेनसम्बन्धी कानुन बनाएर उजुरी लिन सुरु गरेको थियो। |
अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइयो काठमाडौं । आज १६औँ अन्तरर्राष्ट्रिय सगरमाथा दिवस विभिन्न कार्यक्रमका साथ मनाइएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक सफल आरोहण भएको आज ७० वर्ष पुगेको अवसरमा विभिन्न कार्यक्रम गरी दिवस मनाइएको हो ।
सन् १९५३ मे २९ तारिख आजकै दिन तेञ्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले पहिलोपटक सगरमाथामा आफ्नो पाइला राखेका थिए । सोही आरोहणलाई स्मरण गर्दै सगरमाथा दिवस मनाइएको हो । दिवससँगै सगरमाथामा आरोहणको ७०औँ वषगाँठको सन्दर्भमा ‘प्लाटिनम जुब्ली’ पनि मनाइएको नेपाल पर्वतारोहण सङ्घ (एनएमए)ले जनाएको छ ।
सोह्रौँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा मूल समारोह समितिले नेपाल पर्यटन बोर्डमा आयोजना गरेको कार्यक्रममा सगरमाथा आरोहीलाई सम्मान गरिएको थियो । नेपाल पर्वतारोहण सङ्घको आयोजना तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पर्यटनसँग आबद्ध संस्थाहरुको समन्वयमा भएको कार्यक्रममा आरोहिलाई सम्मान गरिएको हो ।
सो अवसरमा एकसय सगरमाथा आरोहीलाई सगरमाथाको विशेष लोगो ‘सगरमाथा स्पेसल ब्याच’ प्रदान गरिएको थियो । कूल २८ पटक सगरमाथाको सफल आरोहण गरे विश्वकीर्तिमान कायम गर्ने कामीरिता शेर्पा, विश्वका १४ वटा अग्ला हिमाल दुई पटक आरोहण गर्ने कीर्तिमानी आरोही सानु शेर्पालगायत अन्य स्वदेशी तथा विदेशी आरोहीलाई लोगो प्रदान गरिएको हो ।
त्यसैगरी, कीर्तिमानी आरोही सानु शेर्पा, सगरमाथा नेशनल अवार्ड तथा सगरमाथाको २७ पटक आरोहण गर्ने पासाङ दावा शेर्पा, किशोर अधिकारी र पासाङ शेर्पालाई तेन्जिङ हिलारी अवार्ड प्रदान गरिएको थियो । पर्यटन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले आरोहीलाई अवार्ड वितरण गरेकी थिइन् ।
सोही अवसरमा पर्यटन राज्यमन्त्री ठकुरीले ‘नेपाल पर्वत’ नामक स्मारिका विमोचन गर्नुभएको थियो । कार्यक्रममा वसन्त ऋतुमा सगरमाथा आरोहणमा ‘रोप फिक्सिङ टिम’ डोरी टाग्ने समूह र उत्कृष्ट कम्पनीलाई कदरपत्रद्वारा सम्मान गरिएको थियो ।
सो अवसरमा पर्यटन राज्यमन्त्री ठकुरीले सगरमाथा आरोहीलाई आरोहण ब्याच वितरण गरेर आरोहीप्रति सम्मान प्रकट भएको बताइन् । उनले पर्यटन उद्योगमा हिमालको महत्वपूर्ण भूमिका रहेको भन्दै हिमाल आरोहणलाई अझै व्यवस्थित र सुरक्षित बनाउनका लागि सगरमाथा बेस क्याम्पमा आधारभूत सुविधाको व्यवस्थापन, सडक, सञ्चार एवम् आपत्कालीन स्वास्थ्य उपचार लगायतका आधारभूत सुविधाहरु व्यवस्थित गरिनुपर्नेमा जोड दिइन् ।
पर्यटन विभागको तथ्याङ्कअनुसार अहिलेसम्म सात हजार आठ सय ५० भन्दा धेरैले सगरमाथा आरोहण गरिसकेका छन् । विश्वका १४ अग्ला हिमालमध्ये विश्वको सर्वोच्च हिमाल सगरमाथासहित आठवटा हिमाल नेपालमा रहेका छन् ।
पर्यटन राज्यमन्त्री ठकुरीले स्वदेशी र विदेशी पर्वतारोहीहरुको मागलाई ध्यानमा क्रमशः नयाँ हिमाल आरोहणका लागि खोल्दै गएको र यस वर्ष सिन्धुपाल्चोकको जुगल हिम शृङ्खला अन्तर्गतका पाँचवटा हिमाल आरोहणका लागि खुला गरिएको जानकारी दिइन् ।
अर्थतन्त्रलाई टेवा दिन र पर्वतारोहण व्यवसायलाई व्यवस्थित पार्नसमेत मन्त्रालय लागेको उनको भनाइ छ । पर्यटन मन्त्रालयका सचिव सुरेश अधिकारीले आठ हजार मिटर अग्लो हिमालका आरोहीको प्रोत्साहनका लागि सरकारले विशेष सम्मान कार्यक्रम आयोजना गर्ने जानकारी दिए ।
पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले मुलुकको पर्वतारोहणलाई व्यवस्थित रुपमा सञ्चालनका लागि सबै संयन्त्रलाई सक्रिय रुपमा परिचालन गरिएको बताए ।
नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष निमानुरु शेर्पाले पर्वतीय पर्यटन प्रवद्र्धन र दक्ष जनशक्ति उत्पादनमा संस्थाले भूमिका निर्वाह गर्दै आएको बताए ।
कार्यक्रममा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष नीलहरि बास्तोला, नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले नेपालको दिगो पर्वतीय पर्यटन विकास र प्रवर्द्धनमा जोड दिए । |
सन्दर्भ गणतन्त्र दिवस : गन्तव्य गण्डकी गण्डकी । अमेरिकी समाचार संस्था ‘सिएनएन’ले हालै सार्वजनिक गरेको सन् २०२३ मा विश्वका घुम्नै पर्ने २३ गन्तव्यको सूचीमा गण्डकी प्रदेशको मुस्ताङ उपत्यका पनि परेको छ ।
तीन वर्षअघि चर्चित अन्तर्राष्ट्रिय ट्राभल साइट लोन्ली प्लानेटले पनि यहाँको अन्नपूर्ण चक्रीय पदमार्गलाई घुम्नै पर्ने दश गन्तव्य सूचीमा राखेको थियो । गण्डकीमा यी लगायत कैयन यस्ता गन्तव्यस्थल छन् जसले नेपालको पर्यटकीय छविलाई विश्व पर्यटन बजारमा स्थापित गर्ने सामर्थ्य राख्छन् । मुस्ताङको मुक्तिनाथ क्षेत्र, लोमान्थाङ दरबार र गोरखास्थित गोरखा दरबारलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न भइरहेको पहल पनि त्यसकै सिलसिला हो ।
राजधानी सहर पोखरालाई पर्यटकीय राजधानीको समेत उपमा दिइनुले पनि गण्डकी प्रदेश पर्यटनमा देशकै अग्रणी रहेको पुष्टि हुन्छ । फ्रान्सेली नागरिक मौरिस हर्जोगले सन् १९५० मा पहिलोपटक अन्नपूर्ण हिमाल आरोहण गरेसँगै पर्यटनमा बामे सरेको गण्डकी अहिले पर्यटनलाई नै समृद्धिको पहिलो आधार मान्ने ठाउँमा आइपुगेको छ ।
समुद्री सतहदेखि एक सय तीन मिटर उचाइमा रहेको नवलपुरको त्रिवेणीदेखि आठ हजार एक सय ६७ मिटर अग्लो धौलागिरि हिमालसम्म फैलिएको यो प्रदेश प्राकृतिक, भौगोलिक र सांस्कृतिक विविधतायुक्त सौन्दर्यले भरिएको छ । प्राचीन धर्म, कला र सभ्यताको पनि जननी मानिन्छ, गण्डकी प्रदेश ।
मिश्रित जातजाति र धर्मावलम्बीको बसोबास रहेको यो प्रदेश सांस्कृतिक पर्यटनका दृष्टिबाट पनि उत्तिकै वैभवशाली छ । यहाँका जातीय पर्व, परम्परा र रीतिरिवाजले पनि पर्यटकलाई लोभ्याउने गर्छ । परम्परा झल्काउने गीत, नाच र झाँकी गण्डकीका सांस्कृतिक धरोहर हुन् ।
विश्व चर्चित अन्नपूर्ण पदमार्ग, मुस्ताङ उपत्यका, ढोरपाटन सिकार आरक्षलगायत प्राकृतिक सम्पदा गण्डकी प्रदेशको मात्र नभई देशकै अमूल्य निधि हुन् । यहाँ रहेका माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरि, मनास्लुजस्ता हिमशृङ्खला, नदी, तालतलैया, झरना आदि पर्यटकीय आकर्षणका केन्द्र हुन् ।
संसारकै अग्लो स्थानमा रहेको मनाङको तिलिचो ताल, तालतलैयाको सहर पोखरा, शालिग्राम पाइने एकमात्र नदी कालीगण्डकी आदिले गण्डकीको गौरव बढाएका छन् । मुक्तिनाथ, मनकामना, दामोदरकुण्ड, बागलुङ कालिका भगवती, गलेश्वरधाम, देवघाट, सेतीवेणीलगायतका पवित्रस्थलले धार्मिक गन्तव्यको चिनारी बोकेका छन् । साहसिक पर्यटन गतिविधिमा पनि पोखराको नाम अघि आउँछ ।
पर्यटनका यिनै प्रचुरतालाई दृष्टिगत गरेर गण्डकी प्रदेश सरकारले प्रदेशको समृद्धिको पहिलो आधारका रूपमा पर्यटनलाई लिएको छ । समुचित ढङ्गले यहाँको पर्यटन विकास र प्रवर्द्धन हुनसके गण्डकी प्रदेश मात्रै होइन देशले नै ठूलो आर्थिक लाभ उठाउन सक्ने पर्यटन व्यवसायी बताउँछन् ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तरदेशीय उडान र चीनसँगको कोरला नाका खोल्न सके पर्यटनबाटै गण्डकीको कायापलट हुने धारणा राखे ।
“कोरला नाका खोल्न सरकारले कूटनीतिक पहल थाल्नुपर्छ, कोरला नाका खुलेमा व्यापार र पर्यटनबाट नेपालले नसोचेको फाइदा लिन सक्छ, कैलाश मानसरोबर जाने पर्यटकलाई पनि मुस्ताङ हुँदै लैजान सकिन्छ, यो मार्ग छोटो पर्छ”, उनले भने । अहिले पनि बर्सेनि भारतीयसहित हजारौँ विदेशी पर्यटक मुस्ताङ पुग्छन् । मुक्तिनाथ विश्वभरका हिन्दू धर्मावलम्बीमाझ प्रसिद्ध छ ।
अध्यक्ष श्रेष्ठले पोखरा मात्र नभएर प्रदेशका अरु जिल्लाको पर्यटन प्रवर्द्धनमा हातेमालो गर्न पोखरेली पर्यटन व्यवसायी तयार रहेको बताए । उनका अनुसार पोखराको पर्यटनमा खर्बौंको लगानी छ । साधारणदेखि पाँचतारेसम्म गरी झण्डै एक हजार दुई सय होटल यहाँ सञ्चालित छन् । कोभिड–१९ महामारी, आर्थिकमन्दी जस्ता कारणले पछिल्लो समय पर्यटन व्यवसाय सुस्ताएको अध्यक्ष श्रेष्ठले बताए ।
नेपाल पर्यटन बोर्डका पूर्वसदस्य वासु त्रिपाठीले गण्डकी प्रदेशको समृद्धिको पहिलो आधारका रूपमा पर्यटनलाई लिइए पनि सरकारी संयन्त्र अझै पर्यटनमैत्री बन्न नसकेको बताए । “पर्यटन भनेको अलग्गै विषय होइन, सरकारका हरेक मन्त्रालयले पर्यटनमुखी कार्यक्रम, बजेट ल्याउन सक्छन्”, उनले भने, “निजी र सामुदायिक क्षेत्रबाट पर्यटनमा जसरी लगानी भइरहेको छ र राज्य पनि त्यसरी नै उदार हुनुपर्छ ।”
उनले ऐन, कानूनमा रहेका पर्यटन विरोधी प्रावधान हटाउनुपर्ने उल्लेख गरिन् । “नीतिमा पनि सुधार आउनुप¥यो, प्राकृतिक सम्पदाको संरक्षणमा पनि ध्यान दिनुप¥यो, तालतलैया, खोलानाला सफा राख्नुप¥यो”, उनले भने, “पर्यटकलाई सुरक्षित वातावरण दिनुपर्छ, बाटोघाटो सहज हुनुप¥यो ।”
उनले पर्यटन व्यवसाय आतिथ्य सत्कारसँग जोडिएकाले दक्ष मानव संशाधनको विकास गर्नुपर्ने बताए । “हाम्रा गन्तव्यस्थल कति पर्यटनमैत्री छन् र सुरक्षित छन् भन्ने विषय महत्त्वपूर्ण हुन्छ, पर्यटनमा रूपान्तरणकारी योजना ल्याउनुपर्छ, सरकारले लगानी बढाउनुप¥यो, पर्यटनमैत्री नीति पनि चाहियो”, त्रिपाठीले भने, “समृद्धिको आधार भनेर घोषण मात्र गरेर हुँदैन, त्यहीअनुसारको कार्यक्रम ल्याउनुपर्छ ।”
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु गर्न नसक्दा स्थानीय राजनीतिक नेतृत्व, नागरिक समाजका अगुवालगायतको क्षमतामाथि प्रश्न उठ्न थालेको उनको भनाइ थियो । गत अङ्ग्रेजी नयाँ वर्षका दिन उद्घाटन भएको उक्त विमानस्थलबाट अहिले आन्तरिक उडान मात्रै हुँदै आएको छ । अन्तर्राष्ट्रिय उडान अझै अनिश्चित छ ।
त्रिपाठीले संसारकै उत्कृष्ट पर्यटकीय गन्तव्य गण्डकी प्रदेशमा रहेको बताए । प्राकृतिक मात्र नभई मानवनिर्मित पर्यटकीय सम्पदाले पनि पर्यटकीय गतिविधि बढाउन ठूलो मद्दत पु¥याएको उनको भनाइ थियो । “पोखरा जसरी विश्व पर्यटन बजारमा चिनिँदै गएको छ, गण्डकीका अरु पर्यटकीय गन्तव्यलाई पनि ब्राण्डिङ गर्न जरुरी छ”, उनले भने, “राज्यका निकाय, निजी क्षेत्र र समुदायको यसमा पहल चाहिन्छ ।”
नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकीका अध्यक्ष हरिराम अधिकारीले गण्डकीमा कैयौँ पर्यटन गन्तव्य रहेको बताए । “पहिचान हुन नसकेर ओझेलमा परेका थुप्रै पर्यटकीय ठाउँ छन्, तिनको विकास र प्रवर्द्धन गर्नुपर्छ”, उनले भने, “पर्यटकीय गन्तव्यलाई अन्तर्राष्ट्रियस्तरमा पहिचान दिलाउन सरकारले नै अग्रसरता लिनुपर्छ ।”
उनले मध्यकालीन शाहवंशीय इतिहासको साक्षी गोरखा दरबार, उपल्लो मुस्ताङको प्राचीन लोमान्थाङ दरबार र मुक्तिनाथ क्षेत्रका गुफालाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नुपर्ने बताए । “गण्डकीका ऐतिहासिक सम्पदास्थललाई विश्व जगत्मा चिनाउन सकियो भने यहाँको पर्यटनले नयाँ गति लिन्छ”, उनले भने ।
उनले पर्यटनका लागि पूर्वाधार र प्रवर्द्धन नै महत्त्वपूर्ण हुने बताउए । अध्यक्ष अधिकारीले गण्डकी प्रदेश पर्यटनको केन्द्रका रूपमा विकास भइरहेको बताए । “प्रकृति र संस्कृतिलाई पर्यटनमा जोड्नुपर्छ, नयाँ–नयाँ गन्तव्यको खोजी र प्रवर्द्धन गर्नुपर्छ”, उनले भने, “पोखरा आउने पर्यटकको बसाइँ लम्ब्याउन नजिकका जिल्लामा नयाँनयाँ गन्तव्यको विकास गर्नुपर्छ ।”
कोभिड–१९ महामारीअघि नेपाल भित्रने ४५ प्रतिशत विदेशी पर्यटकमध्ये करिब ४५ प्रतिशतले गण्डकी प्रदेशको भ्रमण गर्थे । महामारीयता पर्यटक आवागमनको औपचारिक तथ्याङ्क कुनै निकायसँग पनि छैन ।
प्रदेश सरकारले सन् २०१९ लाई आन्तरिक पर्यटन प्रवर्द्धन वर्ष, सन् २०२० लाई छिमेकी पर्यटन प्रवर्द्धन र सन् २०२२ लाई गण्डकी भ्रमण वर्ष मनाउने घोषणा पनि कोभिड–१९ कै कारण स्थगन हुन पुगेको थियो ।
गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको पर्यटन प्रवर्द्धन शाखाका प्रमुख दुर्गाबहादुर श्रीसले तनहुँको आँबुखैरेनी, स्याङ्जाको गल्याङ र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रने पर्यटकको विवरण राख्न थालिएको बताए । उनका अनुसार नेपाल भित्रने विदेशी पर्यटकमध्ये झण्डै आधा पर्यटक पोखरा आउने गर्छन् ।
आन्तरिक पर्यटनको पनि ठूलो हिस्सा पोखराले ओगट्छ । शाखा प्रमुख श्रीसले पदमार्ग, उद्यानलगायत पर्यटकीय पूर्वाधार निर्माणका काम मन्त्रलायबाट हुने गरेको बताए । अहिले जिल्लास्तरमा पनि पर्यटन कार्यालय खुलेका छन् ।
“पर्यटन सम्बद्ध सङ्घसंस्थासँगको साझेदारीमा पूर्वाधार विकास र प्रवर्द्धनात्मक काम गर्दै आएका छौँ, पर्यटनलाई प्रदेशको समृद्धिको पहिलो आधार मानिए पनि बजेट तथा कार्यक्रमको प्राथमिकतामा परेजस्तो देखिन्न”, उनले भने, “कूल बजेटको पुग नपुग एक प्रतिशत मात्र बजेट पर्यटनमा छुट्टिने गरेको छ ।”
ग्रामीण पर्यटनको प्रवर्द्धनका लागि तीन सय २४ वटा घरबासका लागि अनुदान सहयोग प्रदान गरिएको उनको भनाइ थियो । पछिल्लो समय घरबास पर्यटन फस्टाउँदो छ । देशकै पहिलो पर्यटन गाउँ सिरुबारी पनि यहीँ प्रदेशमा पर्छ । स्याङ्जाका रुद्रमान गुरुङले विसं २०५४ मा पहिलोपटक ग्रामीण पर्यटनको अवधारणा नेपाल भित्र्याएका थिए ।
त्यहीबेलादेखि सञ्चालित सिरुबारी घरबास अहिले पनि गण्डकी प्रदेशको आकर्षक पर्यटकीय गन्तव्यका रूपमा परिचित छ । सिरुबारीबाट सुरु भएको ग्रामीण पर्यटनको अभियान अहिले प्रदेशभरि विस्तार भएको छ । जनजाति बाहुल्य समुदायमा घरबास कार्यक्रम सञ्चालित छ । गाउँले जनजीवन, खानपान, घुमफिर र मौलिक संस्कृति घरबासका आकर्षण हुन् ।
यी हुन् गण्डकीका गन्तव्य
कास्कीमा फेवाताल, बेगनासताल, रुपाताललगायत गरी विश्व रामसार सूचीमा सूचीकृत नौ ताल छन् । पोखरा आउने पर्यटक तालतलैया, हरिया डाँडाकाँडा र हिमाल देखेर लोभिन्छन् । हिमशृङ्खला, अन्नपूर्ण आधार शिविर, पातले छाँगो, विश्व शान्ति स्तूप, महेन्द्र गुफा, बिन्ध्यवासिनी मन्दिर आदि कास्कीका प्रमुख पर्यटकीय गन्तव्य हुन् ।
बागलुङका पर्यटकीय गन्तव्यमा कालिका भगवती मन्दिर, ढोरपाटन सिकार आरक्ष, विश्वशान्ति सर्वसिद्धिधाम पञ्चकोट, शालिग्राम सङ्ग्रहालय, घुम्टेको लेक, गलकोट दरबार, गाईघाट झरना, भैरवस्थान मन्दिर, भकुण्डे, गाजाको दहलगायत पर्छन् ।
तिलिचो ताल, अन्नपूर्ण पदमार्गजस्ता प्राकृतिक सम्पदा, हिमाली जनजीवन र संस्कृतिका कारण मनाङ पर्यटकीय रोजाइमा पर्ने गर्छ । हिमालपारिको जिल्ला मुस्ताङमा प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ, दामोदर कुण्ड, लोमान्थाङ दरबार, प्राचीन गुफा, कलाकृति, ढुम्बा ताल, कागबेनीलगायत चर्चित गन्तव्यस्थल छन् ।
म्याग्दी पनि प्राकृतिक पर्यटनका दृष्टिबाट अगाडि छ । धवलागिरि हिमाल, धौलागिरि आधार शिविर, पुनहिल, घोरेपानी, रुप्से छहरा, अन्धगल्छी, खोप्रा लेक, गलेश्वरधाम आदि त्यहाँका मुख्य पर्यटकीय गन्तव्य हुन् ।
पर्वतका पर्यटकीय गन्तव्यमा जलजला, हम्पाल, कालान्जर पर्वत, पञ्चासे, गुत्तेश्वर गुफा, सेतीवेणीलगायत पर्छन् । अग्ला र लामा झोलुङ्गे पुलले पनि पर्वतलाई चिनाउँछ । निजी क्षेत्रको लगानीमा सञ्चालित बञ्जी जम्पलगायत साहसिक पर्यटन गतिविधिले पनि पर्वतको आकर्षण बढेको छ ।
पर्यटकीय गाउँ सिरुबारी, कालभैरव मन्दिर, आलमदेवी, छायाँ क्षेत्र, शाल्मे–डाँडाजस्ता गन्तव्यस्थल स्याङ्जाको पर्यटनका आधार हुन् । राम्दीघाट, मिर्मीजस्ता पर्यटकीय आकर्षणका ठाउँ स्याङ्जामा छन् ।
लमजुङमा ऐतिहासिक लमजुङ दरबार, राइनासकोट, इलमपोखरी, घलेगाउँ, भुजुङ गाउँ, काउलेपानीलगायतका पर्यटकीय गन्तव्य छन् । ऐतिहासिक गोरखा दरबार, गोरखा सङ्ग्रहालय, मनकामना मन्दिर, मनास्लु हिमाल, मनास्लु संरक्षण क्षेत्रजस्ता ठाउँले गोरखाको पर्यटकीय आकर्षण बढाएका छन् ।
व्यास क्षेत्र, तनहुँसुर दरबार, देवघाटधाम, बन्दीपुर, ढोरबराहीलगायत धार्मिक तथा पर्यटकीयस्थल तनहुँमा छन् । मौलाकालिका मन्दिर, त्रिवेणी गजेन्द्र मोक्षधाम, देवचुलीजस्ता ठाउँ नवलपुरका आकर्षण हुन् । प्रदेश सरकारले चार वर्षअघि प्रदेशका ११ वटै जिल्लाका दश÷दश गरी एक सय १० गन्तव्य पहिचान गरी सूचीकृत गरेको थियो । रासस |
शहीद परिवारको गुनासोः गणतन्त्र कार्यान्वयन फितलो भयो चितवन । गणतन्त्र प्राप्तिपछि आम नागरिकले गरेको अपेक्षाअनुसार काम अझै हुन नसकेको शहीद परिवारले गुनासो गरेका छन् । आफ्ना परिवारका सदस्यले परिवर्तनका लागि गरेको त्यागको प्राप्त आम नेपालीले पाउनुपर्ने उनीहरुको भनाइ छ । परिवारले जस्तोसुकै पीडा भोग्नुपरेको भए पनि देशको परिवर्तन मूल उद्देश्य हुनुपर्नेमा उनीहरुको जोड छ ।
द्वन्द्वकालमा श्रीमान् गुमाएकी भरतपुर महानगरपालिका–२० की सङ्गीता भट्टराई आफ्ना पतिले गणतन्त्र प्राप्तिका लागि बलिदानी दिएको बताइन् । गणतन्त्र जुन उद्देश्यका साथ स्थापना भएको छ त्योअनुसार कार्यान्वयन गर्ने पाटोमा अघि नबढेको उनको गुनासो छ । उनले भनिन्, “देशका बुद्धिजीवी, कर्मचारीको सोचाइ अझै पुग्न सकेको छैन । परम्परागत सोचाइका कारण गणतन्त्र कार्यान्वयनमा समस्या छ ।”
बलिदान दिने परिवारका तर्फबाट अपेक्षा र स्वार्थ केही नभएको भन्दै उनले भनिन्, “जुन उद्देश्यका साथ गणतन्त्र स्थापना भयो । सामान्य जनताको छोरो पनि देशको शासन गर्ने ठाउँमा पुग्यो ।” आफ्नो भावना, पीडा सबै व्यक्त गरेर गणतन्त्र स्थापना गरेको भन्दै शहीद स्मृति प्रतिष्ठानका अध्यक्षसमेत रहेकी भट्टराईले भनिन्, “कार्यान्वयन गर्ने निकायले सही ढङ्गले कार्यान्वयन नगर्दा अपेक्षा गरेअनुसारको कार्यान्वयन हुन सकेन ।”
पूर्वी चितवनको वीरेन्द्रनगरकी अरणा कँडेलले विसं २०४६ को आन्दोलनमा आफ्नो बुबा गुमाएकी थिइन् । जुन अपेक्षाअनुसार परिवर्तनका आन्दोलनमा सहभागिता जनाइन् त्यो अहिले नभएको उनको गुनासो छ । उनले प्रश्न गरिन्, “देशमा नै समस्या भइरहेको समयमा अहिले के अपेक्षा पूरा हुने ?” जनताले परिवर्तनको महसुस गर्न नसकेको भन्दै उनले अत्यावश्यक वस्तुको मागसमेत पूरा गर्न कठिन भएको समयमा गणतन्त्र कार्यान्वयन झन फितलो बन्दै गएको बताइन् । उनले भनिन्, “कार्यान्वयनको पक्ष बलियो हुन जरुरी छ । जनताले सहजरुपमा सेवा पाउन सके त्यो कार्यान्वयनमा आउने थियो ।”
सशस्त्र द्वन्द्वमा छोरा गुमाएका माडीका दण्डपाणि पौडेलले गणतन्त्र राजनीतिक परिवर्तन भए पनि आर्थिक र सामाजिक परिवर्तन हुन नसकेको गुनासो गरे । जनताले आजभन्दा भोलि झन समस्या झेलिरहेको बताउँदै उनले भने, “अहिले गणतन्त्र कार्यान्वयनका चरणमा राज्यले दायित्व लिएर अघि बढ्नुपर्छ ।” समय अनुकूल परिवर्तनलाई महसुस हुने गरी काम गर्न नसकेको उनले बताए ।
माडीकै नरमाया सुनारनीले बाँदरमुढे घटनामा श्रीमान् गुमाएकी छन् । उनले भनिन्, “राज्यले परिवर्तनको अनुभूति दिन सकेन”, पीडितले न्याय पाउन नसकेको भन्दै उनले भनिन्, “पीडितले न्याय र नागरिकले गणतन्त्रको अनुभूति पाउनुपर्छ ।” आम नागरिकले अनुभूति पाउने गरी काम हुनुपर्नेमा शहीद परिवारको जोड छ । आफ्ना आफन्त गुमाउँदै गर्दाको भन्दा पनि देशमा सोचेजस्तो परिवर्तन नभएका उनीहरुको चिन्ता छ । |
पाँच पटक म्याद थप्दा पनि भएन लोकमार्ग कालोपत्र ढोरपाटन। साँढे दुई दशक अगाडि ट्र्याक खुलेको राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको अक्षते–घोडाबाँधे खण्ड अहिलेसम्म कालोपत्र हुनसकेको छैन। विसं २०७३ मा निर्माण कम्पनीसँग ठेक्का सम्झौता भइ हालसम्म पाँच पटक म्याद थप्दा पनि उक्त सडक कालोपत्र हुन सकेको छैन।
निर्माण कम्पनीले पटक–पटक म्याद थप्दै काम नगर्दा यहाँका स्थानीय मर्कामा परेका छन्। यस खण्डअन्तर्गत पर्ने २५ किलोमिटर मध्ये हालसम्म १४ किलोमिटर मात्रै कालोपत्र भएको छ। वर्षौँदेखि सडक कालोपत्र नहुँदा सडक वरपरका स्थानीय र यात्रुले हिउँदमा धुलो र बर्खामा हिलोका कारण सास्ती भोग्दै आएका छन्। सडकको काठेखोला गाउँपालिका–५ र ६ का दर्जनौँ स्थानीय विस्थापितसमेत भएका छन्।
विसं २०७३ मा सम्झौता गरेर कालोपत्रका लागि दुई निर्माण कम्पनीलाई जिम्मा दिइएको लोकमार्ग कार्यालयले जनाएको छ। कार्यालयका अनुसार माथिल्लो बिहुँ खण्डमा कालोपत्र गर्न एपिएस सिएफ इसिसी जेवी र तल्लो खण्डको भरत सिद्धिशाही जेभीले जिम्मा लिएको थियो।
माथिल्लो खण्डमा काम गर्ने म्याद असार ५ गते र तल्लो अक्षते खण्डको असार २० गतेसम्म छ। बिहुँ खण्डमा निर्माण कम्पनी बेला–बेला सम्पर्कविहीन हुँदा काम हुनसकेको छैन। सडकमा काम गर्ने मजदुर र उपकरण निकै न्यून हुँदा असार अन्तिमसम्म काम सक्ने सम्भावना नरहेको मध्यपहाडी लोकमार्ग कार्यालय पर्वतका इञ्जिनीयर पवन सुवेदीले बताए।
उनका अनुसार तल्लो खण्ड अन्तर्गत बागलुङ बजारदेखि अक्षतेसम्म कालोपत्र गर्ने र सडक फराकिलो बनाउने, नाली निर्माण गर्ने काम भएको छ। “घोडाबाँधेदेखि गलकोट हटियासम्मको सडक भने एक दशक पहिलेनै कालोपत्रे भएको थियो। बाढीपहिरोका कारण उक्त खण्डमा अहिले मर्मत सम्भार हुँदैछ । मर्मतको काम तीव्र रुपमा भइरहेको छ”, उनले भने।
इञ्जिनीयर सुवेदीले काम गर्नका लागि निर्माण व्यवसायीलाई ताकेदा गरे पनि अटेरी गरिरहेको बताए। निर्माण व्यवसायीले काम नगर्दा यात्रुले दुःख पाउनुका साथै आफूहरुलाई पनि समय–समयमा दबाव आइराख्ने उनको भनाइ थियो।
हालसम्म निर्माण कम्पनीले पाँच पटक म्याद थपेको इञ्जिनीयर सुवेदीले बताए। गत पुसमा निर्माण कम्पनी सम्पर्कविहीन भएको र कार्यालयले ठेक्का किन नछोड्ने भनि सूचना प्रकाशन गरेपछि सम्पर्कमा आएर काम गर्ने प्रतिबद्धता जनाएको उनले जानकारी दिए। त्यस बेला काम सुरु गर्ने भने पनि अहिलेसम्म कामलाई निरन्तरता दिन नसकेको भन्दै असार २० गतेसम्म काम सम्पन्न नभए ठेक्का सम्झौता रोक्ने र विकल्प खोजिने सुवेदीले बताए।
“निर्माण कम्पनीका कारण सबैलाई समस्या भएको छ, यतिका समय भयो ठेक्का सम्झौता भएको, तर काम हुँदैन, कार्यालयबाट हुने जति सबै सहयोग गरेका छौँ, काम गरे जतिको भुक्तानी पनि भएको छ, तर काम हुँदैन,” उनले भने। इञ्जिनीयर सुवेदीका अनुसार हालसम्म ७० प्रतिशत काम सम्पन्न भएको छ।
तल्लो खण्ड आठ किलोमिटर र माथिल्लो छ किलोमिटर सडकमा काम भएको इञ्जिनीयर सुवेदीले बताए। “म्याद हुँदाहुँदै ठेक्का तोड्न लागियो भने निर्माण कम्पनीले अदातलमा मुद्दा हाल्ने सम्भावना भएकाले म्याद सम्म पर्खनु पर्नेछ। म्याद सकियो भने बोलपत्रबाट नयाँ प्रक्रिया अगाडि बढ्छ, असारको २० गतेसम्म काम सक्ने सम्भावना कम छ”, उनले जानकारी दिए।
स्थानीय कृष्णप्रसाद कँडेलले सम्बन्धित निकायले चसो नदिँदा ठेकेदार कम्पनीले काम गर्न आलटाल गरिरहेको बताए। उनले २५औँ वर्षदेखि सडक छेउमा घर भएका नागरिकले सडकको हिलो र धुलो पन्छ्याएर दिन बिताउने गरेको गुनासो पोखे। “जब बर्खा लाग्छ, तब मेसिन लिएर काम गरे जस्तो गर्ने, १० दिनपछि कामदार र ठेकेदार नै हराउने गर्छन्”, उनले भने।
सुरुमा सडक आउँदा निकै खुसी लागेको स्थानीय कँडेलको भनाइ थियो। उनले सडकले सुविधा दिने, जनजीवन फेरिने, व्यापार व्यवसाय गर्न सहज हुने स्थानीयको आशा निराशामा बदलिएको भन्दै हिलो र धुलोका कारण स्वास्थ्यमा समेत समस्या आउन थालेको बताए। “सडक छेउका कतिपय स्थानीय वर्षौँसम्म सडक कालापत्र हुन नसक्दा विस्थापित हुन बाध्य भएका छन्। “कतिपय ठाउँमा सडक कालोपत्र भएर भत्कियो, फेरि कालोपत्र गर्ने बेला हुन लाग्यो यहाँको अवस्था यस्तो विजोग छ”, कँडेलले भने।
लोकमार्गको कूल एक हजार सात सय ७६ किलोमिटरमध्ये बागलुङ खण्डमा मात्रै एक सय ४२ किलोमिटर पर्छ। हालसम्म एक सय ३१ किलोमिटर सडक कालोपत्र भइसकेको छ। सडकको दुरावस्था हुँदा दुर्घटनाको जोखिम बढेको चालक रेमबहादुर विकले बताए। ठाउँठाउँमा ठूलाठूला खाल्डाखुल्डी हुँदा गाडी बिग्री रहने र यात्रा गर्नै कठिन हुने उनले गुनासो पोखे।
विकले भने, “यो बाटोमा गाडी चलाउन थालेको १०/१२ वर्ष भइसक्यो, यो अवधिमा सयौँ पटक सडकका कारण गाडी बिग्रियो, गाडी बिग्रिदा लाखौँ रुपैयाँ खर्च भयो, धेरै पटक दुर्घटनाबाट बचियो, हरेक वर्ष बाटो राम्रो बनाउला जस्तो गर्छ, तर अलिअलि काम गरेर छोड्छ, हामी त हैरान भइसक्यो, के गर्ने जसरी पनि गाडी चलाउनै पर्यो।” |
मध्यनेपालका पाँचवटा वडामा भूमिहीन नागरिकहरूलाई निस्सा वितरण लमजुङ। राष्ट्रिय भूमि आयोग लमजुङले मध्यनेपालका भूमिहीन नागरिकहरुलाई निस्सा वितरण गरेको छ। मध्यनेपाल नगरपालिकाअन्तर्गत जग्गा प्राप्तिका लागि निवेदन दिएकाहरुमध्ये वडा नम्वर १ देखि ५ सम्मका नागरिकहरुलाई अभिमुखिकरणसहित निस्सा वितरण गरेको हो।
राष्ट्रिय भूमि आयोग लमजुङका अध्यक्ष दामोदर अधिकारीको विशेष उपस्थितीमा मध्यनेपाल–२, सोतीपसलमा एक कार्यक्रम गरि सम्बन्धित् परिवारलाई अभिमुखीकरणसहित निस्सा वितरण भएको हो। मध्यनेपाल नगरपालिकाअन्तर्गत पाँचवटा वडाबाट आएको निवेदनअनुसार निस्सा वितरण गरिएको र अन्य वडाहरुमा निवेदन अद्यावधिककै क्रममा रहेकोले जेठ २५ भित्र वितरण गर्ने तयारी गरीएको अध्यक्ष अधिकारीले बताए।
आयोगले यसअघि अव्यवस्थित बसोबास भएका, भूमिहीन दलित र भूमिहीन सुकुम्बासी गरी तिन प्रकृतिको लगत संकलन गरेको छ। भूमिसम्बन्धी समस्या समाधान आयोगका इकाईमार्फत निवेदन संकलन गरिए पनि लालपुर्जा प्राप्तीका प्रावधानहरुबारे बुझाई कम भएकोले अभिमुखिकरण समेत गरीएको अध्यक्ष अधिकारीले बताए।
राष्ट्रिय भुमि आयोग लमजुङका अनुसार मध्यनेपाल–१ मा भूमिहीन दलित एकजना र भूमिहीन सुकुम्बासी दुईजनालाई निस्सा वितरण भएको छ। त्यसैगरी वडा नम्वर ३ मा भूमिहीन दलित एकजना र अव्यवस्थीत बसोबासी आठ जनालाई निस्सा वितरण भएको छ । त्यसैगरी वडा नम्वर ४ मा भूमिहीन दलित तीनजना, सुकुम्बासी चारजना र अव्यवस्थीत बसोबासी नौजनालाई निस्सा वितरण भएको छ भने वडा नम्वर ५ मा अव्यवस्थीत बसोबासी चारजनालाई निस्सा वितरण भएको छ।
जग्गा प्राप्तिका लागि वडा नम्वर २ मा कुनै पनि निवेदन नपरेको राष्ट्रिय भूमि आयोग लमजुङले जनाएको छ। मध्यनेपाल–१ मा पनि अव्यवस्थित बसोबासीमा निवेदन परेको छैन भने वडा नम्वर ३ मा भूमिहीन सुकुम्बासीमा निवेदन परेको छैन। त्यस्तै वडा नम्वर ५ मा भूमिहीन दलित र भूमिहीन सुकुम्बासीमा कुनै पनि निवेदन नपरेको समितिले जनाएको छ।
मध्यनेपाल–२ का वडा अध्यक्ष पदमबहादुर थापाको अध्यक्षतामा भएको निस्सा वितरण कार्यक्रममा नगरप्रमुख रमेशकुमार पाण्डे, राष्ट्रिय भूमि आयोग लमजुङको सदस्य सचिव एवं नापी कार्यालय प्रमुख हेलिना श्रेष्ठ, मध्यनेपाल नगर प्रवक्ता एवं वडा नम्वर १० का अध्यक्ष रामचन्द्र भण्डारी, वडा नम्बर १ का अध्यक्ष सुदिप थापा, वडा नम्बर ३ का अध्यक्ष केशव न्यौपाने, वडा नम्बर ५ का अध्यक्ष ओमविर गुरुङ लगायत कार्यपालिका सदस्यहरु एवं अन्य सरोकारवालाहरुको उपस्थिति रहेको थियो।
सुकुम्बासीहरुको अवस्था अध्ययन गर्दै लालपुर्जा प्रदान गर्नको लागि भूमिसम्बन्धी समस्या समाधान आयोग गठन आदेश २०७६ बमोजिम अघिल्लो सरकारले सुकुम्बासी आयोगको गठन गरेको थियो। तत्कालीन समयमा जिल्लामा भूमिसम्बन्धी समस्या समाधानका लागि काम सुरु भएसँगै १२ सय बढि निवेदन परेका थिए।
सरकार फेरिएसँगै ०७८ साउन १९ गते सो आयोग खारेज भएको थियो। वर्तमान सरकारले सोहि समस्या समाधानका निम्ती पुनः राष्ट्रिय भूमि आयोग गठन गरी काम अघि बढाएको हो। आयोगलाई सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको तथ्यांक संकलन गर्ने र उनीहरुलाई लालपुर्जा वितरण गर्ने जिम्मेवारी रहेको छ। |
राजतन्त्रको निशानी रत्नमन्दिर गणतन्त्र दिवसमा खुल्यो गण्डकी। देशमा गणतन्त्र आउनुपूर्व फेवाताल किनाराको रत्नमन्दिर परिसर एक छिन घोरिएर हेर्न पनि डराउनुपर्थ्याे सवारीसाधन परिसरको मार्गमा रोक्न त पाइँदैनथ्यो नै नजानेर किनाराबाट पैदल हिँड्ने सर्वसाधारण पनि सुरक्षाकर्मीको गाली खाएपछि अर्को किनाराबाट हिँड्न बाध्य थिए।
त्यही रत्नमन्दिर भित्र आज भने हुलकाहुल पोखरेली भित्रै पसेर फोटो र सेल्फी लिन व्यस्त देखिन्थे। गणतन्त्र स्थापनाको १५ वर्ष पूरा भएका अवसरमा पोखरेलीको वर्षौंदेखिको रत्नमन्दिर हेर्ने चाहना आज पूरा भएको छ।
नेपाल ट्रष्टको कार्यालयले आजैदेखि सर्वसाधारणका लागि रत्नमन्दिर खुल्ला गरेको हो। पर्यटकीय नगरी पोखरामा पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले एक कार्यक्रमका बीच औपचारिक रुपमा सर्वसाधारणका लागि रत्नमन्दिर खुल्ला गरेका हुन्।
गणतन्त्र स्थापना पश्चात पूर्वराजपरिवारको सम्पत्तिका रुपमा रहेको रत्नमन्दिर अहिले नेपाल ट्रष्टका नाममा छ। गणतन्त्रपछि रत्नमन्दिर खुल्ने विषयले पटकपटक चर्चा पाए पनि यो कार्यान्वयनमा आउन सकेको थिएन।
फेवातालको किनारमा रहेको यो ऐतिहासिकस्थल करिब एक सय ७४ रोपनी क्षेत्रफलमा फैलिएको छ। तत्कालीन राजा महेन्द्रले आफ्नी रानी रत्नको नाममा विसं २०१३ मा निर्माण सुरु गरी २०१५ सालमा यसको निर्माण सम्पन्न भएको थियो।
विगतमा यसको प्रयोग राजारानी, दरबारका विशिष्ट पाहुना पोखरा आउँदा बस्नुका साथै राजकीय निमन्त्रणामा आएका अतिविशिष्ट पाहुना बस्ने स्थलका रुपमा यस दरबारलाई लिइन्थ्यो।
यस दरबारमा चीनका प्रधानमन्त्री, बेलायती महारानीलगायत अन्य विशिष्ट विदेशी पाहुनाको आगमन भएको र बास बसेको पाइन्छ। यस परिसरभित्र रत्नमन्दिर दरबारलगायत तालघर, बाग बगैँचा र अन्य प्रयोजनका साना ठूला गरी १० भवन छन्।
दरबारभित्र बैठक कक्ष, राजारानीको शयन कक्ष, शाही नातेदारले प्रयोग गर्ने शयन कक्ष, डाइनिङ कक्षलगायत ११ कोठा छन्। यहाँबाट फेवाताल, तालपारीको रानिवन र माथि विश्वशान्ति स्तूप, पुम्दीकोटलगायतका सुन्दर दृश्य एकसाथ अवलोकन गर्न सकिन्छ। रत्नमन्दिरमा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला पुगेको कुरा उनले आफ्नो आत्मवृत्तान्तमा उल्लेख गरेका छन्।
गणतन्त्र स्थापनापछि राजा वीरेन्द्र र राज परिवारका नाममा भएका सम्पूर्ण सम्पत्ति नेपाल ट्रष्टका नाममा ल्याउने सरकारी निर्णयपछि यो नेपाल ट्रष्टको स्वामित्वमा छ।
तत्कालीन राजपरिवारका नारायणहिटीलगायतका दरबार गणतन्त्र आएपछि खुला भए पनि रत्नमन्दिर नखुल्दा पोखराका पर्यटन व्यवसायीले निरन्तर खुलाउन माग गर्दै आएका थिए।
कार्यक्रममा मन्त्री किरातीले गणतन्त्रको उपहारस्वरुप रत्नमन्दिर सर्वसाधारणका लागि खुला गरिएको बताए। पर्यटकीय नगरी पोखरामा रहेको यस ऐतिहासिक सम्पदाको संरक्षणसँगै प्रवद्र्धन गरी अधिकतम उपयोग गरिनुपर्नेमा उनले जोड दिए।
विसं २०१३ मा निर्मित यो सम्पदालाई तत्कालीन समयको समाजसँग तुलना गरेर हेर्नुपर्ने उनको भनाइ छ। पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आए पनि अन्तर्राष्ट्रिय उडान हुन नसक्दा निराशा छाएको जनाउँदै उनले यसका लागि कूटनीतिकस्तरमा छलफल चलिरहेको बताए।
चीनका सहरमा चाटर्ड उडान सुरु गर्ने तयारी भइरहेको जनाउँदै उहाँले पोखरामा चीन र भारतका सहरबाट सिधा उडान गरी विमानस्थलको सदुपयोग गर्नुपर्ने बताए।
गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले यस ऐतिहासिक सम्पदाको संरक्षणसँगै व्यवस्थित सञ्चालनका लागि पोखरा महानगरपालिकालाई जिम्मा दिनुपर्ने आवश्यकता औँल्याए।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले रत्मन्दिर खुला गरिनुले पोखराको पर्यटनमा थप टेवा पुगेको बताए। हालका लागि रत्नमन्दिरका बाहिरी भाग खुला गरिएको उल्लेख गर्दै उनले भित्री भाग खुला गर्न कमजोर संरचनालगायतका कारण अझै केही समय लाग्ने बताए।
रत्नमन्दिर परिसर अवलोकनका लागि प्रत्येक हप्ताको सोमबारबाहेक बिहान १० देखि साँझ ५ बजेसम्म समय निर्धारण गरिएको छ। आइतबार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म खुला रहने व्यवस्था मिलाइएको छ।
स्वदेशी नागरिकका लागि रु एक सय र विदेशीका लागि रु एक हजार टिकट शुल्क तोकिएको छ भने विद्यार्थी, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्तिका लागि रु ५० शुल्क निर्धारण गरिएको छ।
कार्यालयको पूर्वस्वीकृति लिएर वृत्तचित्र तथा भिडियोग्राफी वापत प्रतिघण्टा रु पाँच हजार र व्यावसायिक भिडियोग्राफी वापत प्रतिघण्टा रु १० हजार शुल्क निर्धारण गरिएको छ।
रत्नमन्दिर खुला हुनुले पोखरामा थप पर्यटकीय गतिविधि बढ्ने र उनीहरूको बसाइ लम्ब्याउन योगदान पुग्ने पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ बताउँछन्।
“रत्नमन्दिर खुलेसँगै आगामी दिनमा यो ऐतिहासिक सम्पदा हेर्नका लागि पनि देशका विभिन्न स्थानबाट पर्यटक आउनेछन्, यसले पोखरामा पर्यटकको आगमन बढाउनसमेत महत्वपूर्ण योगदान गर्नेछ”, उनले भने।
वासुदेव पौडेल/रासस |
सर्लाहीमा मिटरब्याजीविरुद्ध एक हजार नौ सय २० उजुरी दर्ता मलंगवा। सर्लाहीमा मिटरब्याजी (अनुचित लेनदेन) विरुद्ध एक हजार नौ सय २० उजुरी परेका छन्। सरकारले मिटरब्याजीविरुद्ध उजुरी दिने आह्वान गरेपछि एक हजार नौ सय २० मिटरब्याजी पीडितले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका हुन्।
उजुरी परेका साहुकारहरुलाई मंगलबारदेखि जिल्ला प्रशासन कार्यालयमा बोलाई मिलापत्र गराउने र मुद्दा चलाउन मिल्नेमाथि सम्पत्ति शुद्धिकरणलगायत मुद्दा प्रक्रिया अगाडि बढाइने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।
“मिटरब्याजी साहुले लिएको ऋण भन्दा बढीको कागज बनाएको र ऋण तिरेपछि पनि अझ धेरै ऋण बाँकी रहेको भन्दै कागज देखाएर घर, घडेरी नै आफ्नो नाममा पास गर्न थालेपछि पीडितले काठमाडौँमा पुगेर आन्दोलन गरेका थिए”, उनले भने।
सरकारले अध्यादेशमार्फत अनुचित लनेदेनसम्बन्धी कानुन बनाएर उजुरी लिन सुरु गरेको थियो। मधेश प्रदेशको राजधानी जनकरपुरधाममा अनुचित लेनदेन अर्थात् मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगको कार्यालय स्थापना भएपश्चात् आयोगका अध्यक्ष गौरीबहादुर कार्की र सदस्य उत्तमराज सुवेदीले वैशाख २० गते यहाँका मिटरब्याज पीडित, नागरिक समाज, जनप्रतिनिधि, सुरक्षा अधिकारी, दलका प्रतिनिधि, मिटरब्याजविरुद्धका अभियन्तालगायत अन्य सरोकारवालासँग आवश्यक छलफल गरेका थिए। – रासस |
सोलुखम्बुको खुन्दे र खमजुङ गाउँमा पुग्यो फाइबर इन्टरनेट, अब उच्च गतिको इन्टरनेट चलाउन सकिने सोलुखम्बु। नेपाल इन्टरनेट फाउन्डेसन र इन्टरनेट सोसाइटीको सयुक्त प्रयासमा एभरेष्ट कम्युनिटी नेटवर्क सोलुखम्बुको खुन्दे र खमजुङ गाउँमा फाइबर बिच्छ्याइएको छ। तेञ्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारी विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहन गरेको ७० औं वार्षिकोत्सवको अवसरमा २ गाउँमा फाइबर इन्टरनेट पुर्याइएको हो।
आईतबार सोलुखम्बुमा एक कार्यक्रम गर्दै उक्त परियोजनाको औपचारिक सुरूवात गरिएको छ। उक्त कार्यक्रममा सर एडमन्ड हिलारीका छोरा पिटर हिलारी, न्युजल्याण्ड पूर्व प्रधानमन्त्री हेलेन कर्लक, इन्टरनरेट सोसाइटीका क्षेत्रीय निर्देशक नाबेद ऊलहक, इन्टरनेट फाउन्डेसन नेपालका अध्यक्ष विक्रम श्रेष्ठ, खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष लक्ष्मण अधिकारी लगायको उपस्थिति रहेको थियो।
खुन्दे र खमजुङ गाउँमा भएको यसअघिको वायरलेस प्रविधिलाई फाइबरमा अपग्रेड गरिएको छ। फाइबर विस्तार भएसँगै खुन्दे र खमजुङका बासिन्दा तथा सगरमाथा आरोहन गर्न आउने आरोहीले अब उच्च गतीको गुणस्तरीय इन्टरनेट चलाउन सक्ने नेपाल इन्टरनेट फाउन्डेसनका अध्यक्ष विक्रम श्रेष्ठले बताए।
फाइबर पुगेपछि अब खमजुङ माध्यमिक विद्यालय, खुन्दे अस्पताल र खुन्दे कम्युनिटी क्लबमा निःशुल्क जडान हुनेछ। पहिलो चरणमा सार्वजनिक स्थानमा फाइबर इन्टरनेट जडान गर्ने र त्यसपछिको चरणमा घरहरूमा फाइबर इन्टरनेट जडान गरिने छ । घरहरूमा जोडिन इन्टरनेट सस्तो शुल्कमा उपलब्ध गराइने छ।
उच्च गतीको फाइबर इन्टरनेटले स्थानीयलाई डिजिटल शिक्षा र टेलिहेल्थको पहुँचसँगै नयाँ आम्दानीको अवसरसँग पनि जोड्ने अध्यक्ष श्रेष्ठले जानकारी दिए।
यसले सगरमाथा आरोहण गर्न आउने आरोहीलाई समेत आकर्षण गर्ने बताइएको छ। फाइबर पछि खुन्दे र खम्जुङ गाउँमा सुरक्षा प्रणाली समेत जडान गर्ने योजना रहेको छ। उक्त प्रणालीले स्थानीय गाउँबाट टाढा गएका भएका बेला आफ्नो घर र जनावरको सुरक्षा गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। खुन्दे र खमजुङमा होमस्टेको समेत व्यवस्था रहेको छ, जहाँ शेर्पाहरूको संस्कृति प्रत्यक्ष रूपमा अनुभूति गर्न पाइन्छ। |
१३२ केभी प्रसारण लाइनको तार फेर्न हेटौंडा क्षेत्रमा अवरोध काठमाडौँ। मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ स्थित सुकौली क्षेत्रका बासिन्दाले १३२ केभी डबल सर्किट प्रसारण लाइनको स्तरोन्नति (तार फेर्ने) कार्यमा अवरोध गरेका छन्।
करिब ४१ वर्षअघि प्रसारण लाइन निर्माण गर्दा प्रभावित जग्गाहरुको मुआब्जा तथा क्षतिपूर्ति नदिएको, रुट सार्नु पर्नेलगायतका माग राखी स्थानीयले लाइनको तार (कन्डक्टर) फेर्ने कार्यमा अवरोध गर्दै आएका छन्। स्थानीयको अवरोधका कारण गत वैशाखको पहिलो हप्ताबाट काम ठप्प छ।
नेपाल विद्युत प्राधिकरणले पूर्व–पश्चिम १३२ केभी डबल सर्किट प्रसारण लाइनको क्षमताबृद्धि गर्न हेटौंडादेखि धनुषाको ढल्केबर सबस्टेसनसम्मको करिब १३६ किलोमिटर खण्डमा पर्ने कम क्षमताको पुरानो तारलाई बदलेर उच्च क्षमताको नयाँ तार राख्न लागेको हो।
अहिले उक्त प्रसारण लाइनबाट करिब २ सय मेगावाट विद्युत् प्रवाह हुँदै आएकोमा कन्डक्टर बदलेपछि क्षमता बृद्धि भई करिब ४ सय मेगावाट प्रवाह हुन्छ। यसबाट त्यस क्षेत्रमा विद्युत् आपूर्तिमा सुधार हुने, पश्चिम क्षेत्रमा उत्पादित विद्युत्लाई पूर्वतर्फ थप प्रवाह गर्न सकिने र देशभित्र खपत गरी बढी भएको विद्युत्लाई ढल्केबर सबस्टेसनमार्फत भारततर्फ निर्यात गर्न सकिन्छ।
हेटौंडा उपमहानगरपालिका चौकीटोलस्थित सबस्टेसनबाट कमानेसम्मको ९.५७ किलोमिटर प्रसारण लाइनमध्ये एउटा सर्किटको ७.५ किलोमिटर तार फेरिएको छ। हेटौंडा–कमाने खण्डमा तार बदल्न क्रममा टावरमा जोडिएको पुरानो काटेर अस्थायी रुपमा बाँधी राखिएको छ।
स्थानीयको अवरोधले बाँकी काम रोकिएको छ। एउटाको काम सकिएपछि अर्को सर्किटको काम सुरु हुने छ। तराई क्षेत्रमा विद्युत्को माग बढेको तर कन्डक्टर बदल्न एउटा सर्किट बन्द गरिएकाले अहिले लाइन क्षमताले नधान्दा ट्रिपिङलगायतका समस्या आई विद्युत् मागलाई व्यवस्थापन गर्ने असहज भएको छ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र आयोजना व्यवस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक तारा प्रसाद प्रधान सम्मिलित उच्चस्तरीय टोलीले निर्माणस्थलमा गएर स्थानीय बासिन्दासँग छलफल गरी पूर्व–पश्चिम विद्युत् प्रवाहका लागि मेरुदण्डको रुपमा रहेको लाइनको कामलाई अवरोध नगरदिन आग्रह गरेको छ।
छलफलमा १५ नं वडाका वडाध्यक्ष सुनिल मोक्तानले करिब ४१ वर्षअघि लाइन निर्माण गर्दा मुआब्जा तथा क्षतिपूर्ति नपाएको, लाइनका कारण घर निर्माण गर्न नसकिएकोलगायतका माग स्थानीयको रहेको बताए।
‘राज्यका निकायले कानूनभन्दा बाहिर गएर निर्णय गर्न सक्दैनन्, यस्तो बाध्यता सबैले बुझ्नुपर्छ, स्थानीयले उठाएका जायज मागलाई प्राधिकरण व्यवस्थापनले फिल्डमै आएर सम्बोधन गर्ने विश्वास दिलाएको छ, यसलाई अविश्वास गरी काम नै गर्न नदिने भन्ने हुँदैन, त्यसैले अवरोध नगरी काममा सहयोग गरौं’, वडाध्यक्ष मोक्तानले स्थानीयलाई आग्रह गरे।
स्थानीयले राखेका जायज मागलाई क्रमशः सम्बोधन गर्दै जाने उल्लेख गर्दै कार्यकारी निर्देशक घिसिङले करिब ४१ वर्ष अघि बनेको लाइन अहिले आएर सार्न असम्भव रहेको बताए। ‘प्रसारण लाइन निर्माणमा देशभर नै समस्या छ, निर्माणाधीन लाइनको रुट सार्न त सकिंदैन भने बनिसकेको लाइन सार्न सम्भव नै छैन,’ घिसिङले भने, ‘यो लाइनको स्तरोन्नति सकिएन भने मर्स्याङ्दी नदी करिडोरका आयोजनाहरुको विद्युत प्रवाह गर्न नसकेर खेर फाल्नु पर्ने अवस्था छ, यस्तो अवस्था आएमा दैनिक रुपमा राज्यलाई करौडौं घाटा हुन्छ, त्यसले यस्तो महत्वपूर्ण लाइनको काम रोकेर सबै माग पूरा हुन्छ भन्ने नसौचौं, काममा अवरोध नगरौं।’
प्रसारण लाइनको मार्गधिकारमा पर्ने जग्गाको कित्ताकाट गर्न दिने, बैंकमा धितो राख्नपाउनेलगायतका विषयलाई नीतिगत रुपमा सम्बोधन गर्न माथिल्लो तहमा छलफल भइरहेको र स्थानीय रुपका सामाजिक मागलाई सम्बोधन गर्दै जाने उनले बताए। १३२ केभी प्रसारण लाइनको कन्डक्टर स्तरोन्नतिका लागि भएको ठेक्का सम्झौत ४ साउन २०७९मा कार्यान्वयनमा आएको थियो। उक्त कार्य २०८१ पुसभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। |
लुम्बिनी केबुलकार सञ्चालनमा आउँदै लुम्बिनी। बुटवलदेखि पाल्पाको वसन्तपुर जोड्ने गरी निर्माण भएको लुम्बिनी केबुलकार सोमबारदेखि व्यावसायिक रुपले सञ्चालनमा आउने भएको छ । बुटवल उपमहानगरपालिका–३ बमघाटमा आधार ‘स्टेशन’ रहेको केबुलकारको ‘टप स्टेसन’ पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित वसन्तपुरमा रहेको छ ।
लुम्बिनी केबुलकार प्रालिमार्फत निर्माण गरिएको तीन किलोमिटर दूरीको केबुलकारको बेस स्टेशन, टावर, टप बटम स्टेसनलगायतका सम्पूर्ण निर्माणका काम पूरा भएको र सोमबार भोलिदेखि व्यावसायिक रुपले सञ्चालनमा आउने कम्पनीका सञ्चालक चन्द्रप्रकाश ढकालले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।
उनले बुटवलबाट प्रदेशको राजधानी सरेको र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालनमा आउन नसकेको अवस्थामा केबुलकार सञ्चालनले बुटवल तथा भैरहवा क्षेत्रको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताए।
“राजधानी र अन्तर्राष्ट्रिय विमानस्थलका कारण यस क्षेत्रमा होटल तथा पर्यटनका क्षेत्रमा ठूलो लगानी भएको छ”, उनले भने, “राजधानी बुटवलबाट सरेको र विमानस्थल पूर्ण रुपमा सञ्चालनमा नआउँदा लगानी खेरजाने चिन्तामा रहेका व्यवसायीलाई केबुलकारको सञ्चालनले यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा टेवा पुग्छ ।”
उनले यसबाट आन्तरिक पर्यटन प्रवद्र्धनका साथै बुद्ध जन्मस्थल लुम्बिनी आउने र भारतिय पर्यटकको आगमन बढ्ने विश्वास व्यक्त गरे । यसका साथै यस क्षेत्रको कृषि, हस्तकला लगायतको बजारीकरणमा मुख्य टेवा पुग्ने बताए।
वसन्तपुरमा क्यासिनोसहितको एक सय ५० कोठाको पाँचतारे होटल, रेष्टुरेण्ट, मन्दिरलगायत संरचना निर्माण गरी आकर्षक पर्यटकीय गन्तव्य बनाउने उद्देश्यसहित यो परियोजनाका लागि रु पाँच अर्ब लगानी भएको उनले जानकारी दिए । परियोजनाका लागि मुख्य लगानीकर्ता आइएमई समूहले ५१ प्रतिशत र अन्यको ४९ प्रतिशत लगानी रहेको सञ्चालक ढकालले जानकारी दिए ।
केबुलकारमा २५ गोण्डुला रहने एउटा गोण्डुलामा एकैपटक आठ जनाले यात्रा गर्न सक्नेछन् भने प्रतिघण्टा अधिकतम छ सय यात्रु आवातजावत गर्न सक्ने छन् । विसं २०७७ फागुन १ गते शिलान्यास गरिएको केबुलकार पूर्ण क्षमतामा सञ्चालन हुँदा दैनिक पाँच हजार यात्रुले आवातजावत गर्न सक्ने कम्पनीले जनाएको छ ।
कोरोना महामारीलगायत कारणले तोकिएको समयमा निर्माण कार्य सम्पन्न नहुँदा सञ्चालनमा ढिलाइ भएको सञ्चालक तेजप्रसाद विकले पत्रकार सम्मेलनमा बताउनुभयो । केबुलकारको हिल स्टेशन रहेको पाल्पा जिल्लाको तिनाउँ गाउँपालिका–३ स्थित वसन्तपुर डाँडामा कामाख्या भगवतीको मन्दिर स्थापना गरिएको छ ।
उक्त मन्दिरमा मूर्तिको प्राण प्रतिष्ठाका लागि यही शुक्रबारदेखि सात दिने कालिका महापुराण चलिरहेको छ । भारतको गुवाहटीस्थित कामाख्या भगवतीबाट विधिपूर्वक आमन्त्रण गरी ल्याइएकी कामाख्या देवीको प्राण प्रतिष्ठाका लागि सुरु भएको महापुराण यही जेठ १८ गतेसम्म सञ्चालन हुनेछ ।
‘कामाख्या भगवती मूर्ति प्राण प्रतिष्ठा अनुष्ठान समारोह’ नाम दिइएको यस पुराणमा जपात्मक, पाठात्मक र हवनात्मक विधिमार्फत वसन्तपुरमा निर्मित मन्दिरमा कामाख्या देवीको स्थापनार्थ कालिका पुराणको पाठपरायण र देवी महात्म्यासहितको भक्ति सङ्गीत चलिरहेको छ ।
कामाख्या भगवती मन्दिर परिसरमा कैलाश पर्वत, वर, पीपल, ढुङ्गे धारा, कुण्ड, पोखरीलगायतका संरचना निर्माण भएका छन् । करिब एक हजार मिटर उचाइमा रहेको वसन्तपुरमा यसअघि पातलो बस्ती रहेको अहिले मन्दिर निर्माण भई आकर्षक धार्मिक पर्यटकीय गन्तब्य बनेको छ । |
चौध दिनपछि खुल्यो कर्णाली कोरिडोर मान्म। कर्णाली करिडोरअन्तर्गत खुलालुको पुल मर्मतका लागि चौध दिन बन्द गरिएको करिडोर खुला गरिएको छ । कालीकोटको खुलालु पुल आसपासको सडक मर्मत गर्नुपर्ने भएकाले गत वैशाख ३० गतेदेखि कर्णाली कोरिडोर बन्द गरिएको थियो ।
पुलको आसपासको सडक मर्मत भएपछि कालीकोटको खुलालुदेखि हुम्लाको सलिसल्ला सडकखण्ड पूर्ण रुपमा सञ्चालन गरिएको कालीकोटका प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले जानकारी दिए । उनका अनुसार पुलको दक्षिणतर्फको दुई वटा खाल्डा तथा सडक ‘पिसिसी’ प्रविधिबाट मर्मत गरिएको छ ।
“ठूला मालबाहक सवारीसाधन पिसिसी सडकबाटै आउँजाउ गर्न थालेका छन्”, प्रजिअ माझीले भने, “जोखिम ठाउँमा गरिएको पिसिसी प्रविधिबाट मर्मत गरिएकाले छोटो समयमा नै गाडी चलाउन मिलेको हो ।”
पुलको आसपासको सडक निकै जोखिम रहेकाले सोलिङ(नयाँ तह लगाएर) र पिसिसी गरिएको उनको भनाइ थियो । पुलको छेउमा रहेका ढुङ्गाका कारण सवारीसाधन दुर्घटनाको जोखिम थियो । प्रजिअ माझीले सवारी दुर्घटना न्यूनीकरणका लागि सडक मर्मत गरिएको बताए।
सडक डिभिजन कार्यालय जुम्लाले खोलेको ठेक्कामा कुनै निर्माण कम्पनीको ठेक्का नपरेपछि कार्यालयले नै सडक मर्मत गरेको कार्यालय प्रमुख दीपेन्द्र विष्टले जानकारी दिए । |
मर्स्याङ्दी नदीमा पानीको बहाव बढेसँगै बढ्यो बिजुली उत्पादन लमजुङ। यहाँ उत्पादिन मध्यमर्स्याङ्दी जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली वृद्धि हुन थालेको छ। मर्स्याङ्दी नदीमा पानीको बहाव बढ्न थालेसँगै बेँसीसहर नगरपालिका–१ दलालमा रहेको ७० मेगावाट क्षमताको मध्यमर्स्याङ्दी जलविद्युत् आयोजना केन्द्रबाट बिजुली उत्पादन वृद्धि हुन थालेको हो।
केही दिन यता बेलाबेलामा वर्षा हुनाका साथै हिउँ पग्लिएर मस्र्याङ्दी नदीमा पानी बढेपछि यतिबेला दैनिक ५७/६० मेगावाटसम्म बिजुली उत्पादन भइरहेको केन्द्रका प्रमुख पवन बस्नेतले बताए। उनले भने, “जाडो याम सुरु भई सो नदीमा पानीको बहाव कम हुँदै जाँदा क्षमताभन्दा कम उत्पादन भइरहेको यस केन्द्रको बिजुली विस्तारै वृद्धि हुदै गएको छ।”
केही समय २६ मेगावाट मात्र बिजुली उत्पादन भएकामा यतिबेला वृद्धि हुँदै गएको र एक महिनाभित्रमा पूरै क्षमतामा उत्पादन हुने बताइएको छ। यस आयोजनाबाट बर्खायाममा क्षमताभन्दा बढी बिजुली उत्पादन हुने गर्दछ। मर्स्याङ्दी नदीमा पानीको बहाव बढ्दा बिजुली उत्पादन बढ्ने र पानी घट्दा उत्पादन घट्ने भएकाले नदीको पानीको बहाब क्षमताको आधारमा बिजुली उत्पादन गर्ने गरिन्छ।
सन् २००० मा निर्माण सुरु भएको यो आयोजना सन् २००८ मा सम्पन्न भएको थियो। कूल रु २७ अर्ब २० करोडको लागतमा निर्माण भएको यो आयोजना जिल्लाकै पहिलो तथा ठूलो जलविद्युत् आयोजना हो। जिल्लामा आधा दर्जनभन्दा बढी आयोजनाबाट बिजुली उत्पादन भएको छ। ती अधिकांश आयोजनाबाट पनि विस्तारै बिजुली उत्पादन वृद्धि भइरहेको बताइएको छ।
जिल्लामा ५४ मेगावाट क्षमताको सुपर दोर्दी ‘ख’, ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी ए, न्यादी खोलामा निर्माण गरिएको ३० मेगावाटको न्यादी जलविद्युत्, दोर्दी करिडोरमा उत्पादित हिमालयन पावर पार्टनरको २७ मेगावाटको दोर्दीखोला, लिबर्टी इनर्जी लिमिटेडको २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजना, दोर्दीखोला जलविद्युत् कम्पनीको १२.१ मेगावाटको दोर्दी–१, छ्याङ्दी खोला हाइड्रोपावर कम्पनीको चार मेगावाट क्षमताको जलविद्युत्लगायतबाट बिजुली उत्पादन भइरहेको छ। – रासस |
सिन्धुपाल्चोकको गोल्चे केन्द्रविन्दू भएर भूकम्प धक्का काठमाडाैं। सिन्धुपाल्चोकको गोल्चे केन्द्रविन्दू भएर भूकम्प गएको छ।
राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार सिन्धुपाल्चोकको गोल्चे आसपास केन्द्रविन्दु भएर आज दिउँसो १ बजेर १९ मिनेट जाँदा ३ दशमलव ९ रेक्टरस्केलको भूकम्प गएको हो।
यसअघि यही जेठ १० गते बझाङको दौलीचौर वरपर केन्द्रविन्दू भएर ४ दशमलव ५ रेक्टरस्केलको भूकम्प गएको थियो।
पछिल्लोे समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी छ। नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रको रुपमा लिने गरिन्छ। |
भेडापालनमा तमानखोलाका युवाको आकर्षण, भन्छन्- दुई सय भेडा पाल्न सके खाडी मुलुक जानु पर्दैन बागलुङ। तमानखोला गाउँपालिका–४ लाम्मेला बागलुङका २५ वर्षीय युवा सिजन छन्त्याल भेडापालनमा गरिरहेका छन्। युवा जोस तथा उत्सुकताको उमेरमा उनको सन्तुष्टि भने भेडापालनमा भेटिएको छ ।
अहिलेका युवामा वैदेशिक रोजगारीको मोह बढिरहेको सन्दर्भमा सिजनलाई भने भेडीगोठले तानिरहेको छ । बुबा र बाजेले गर्दै आएको भेडापालनलाई आफूले निरन्तरता दिने निर्णयका साथ भेडापालनमा होमिएको उनको भनाइ छ ।
भेडापालनलाई व्यावसायिक बनाउनसके विदेशको कमाई आफ्नै गाउँठाउँमा गर्न सकिने भन्दै भेडापालनमा होमिएको उनी बताउँछन्। सिजन अहिले आफ्नो गाउँ लाम्मेला हुँदै भेडा चराउनका लागि सोलेडाँडा पुग्नुभएको छ । उनले पालेका एक सय पाँच भेडा अब भदौमा मात्रै घर फर्कंनेछन् ।
“बाबा भक्तिप्रसाद छन्त्यालको प्रेरणाले भेडापालनमा लागे, सानैमा भेडीगोठमा नै बढी आनन्द मानियो, साथीभाइ राहदानी बनाएर विदेश हानिए, भेडापालनमा समेत राम्रो सम्भावना देखेर आफू भने भेडीगोठमा लागेको हुँ”, युवा भेडापालक किसान सिजनले भने, “कम्तीमा दुई सय भेडा पाल्न सके खाडी मुलुकमा जति कमाउन सकिने रहेछ, रोगव्याधी र जंगली जनवारले नसताएमा अब मङ्सिरमा घर आउँदा भेडा झण्डै एक सय ४० भन्दामाथि पुग्नेछन्।”
एक वर्षमा ४० देखि ५० भेडा, साँढ तथा पाठी बिक्री गर्नेगरी भेडापालनलाई व्यवस्थित गर्दै आएको उनको भनाइ छ । रोज्जा साँढको मूल्य रु ३५ हजारसम्म पर्ने गरेको उनले बताए। सरदर रु १० हजारदेखि ३५ हजारसम्म साँढ, भेडा र पाठीको मूल्य पर्दछ । भेडापालनबाटै वार्षिक रु छ लाख आम्दानी गर्दै आएको उनको भनाइ छ ।
“भेडापालन एक कष्टकर पेसा हो, घरमै बसेर भेडापालन हुँदैन, जङ्गलमा अस्थायी गोठ बनाएर भेडापालन गर्दै बस्नुपर्दछ”, उनले भने, “वार्षिक सरदरमा रु छ लाख आम्दानी हुन्छ, जंगली जनवारको आक्रमणमा नपरे अझ धेरै हुनसक्छ, नेपालमै बसेर भेडापालन गर्ने सोच बनाएको छु, साथीभाइ विदेशिए भनेर म विदेश जान्न ।”
उनले भेडा चराउनका लागि वैशाखमा सोलेडाँडा, फागुन र चैत जम्दारखोर, पुस र माघ सोलेडाँडा, असोज र कात्तिक बैलीको धुरी र असारदेखि भदौसम्म बुकीमा भेडा चराउन लैजाने गरेको बताए। वर्षमा मङ्सिर महिना मात्रै भेडालाई घरमा राख्ने गरेको सिजनको भनाइ छ ।
परम्परागत भेडापालनमा पछिल्लो समय युवाको आकर्षण देखिएको हो । पुर्खादेखिको पेसा धान्दै भेडापालनलाई व्यावसायिक बनाउँदै यहाँका केही युवा भेडापालनमा आकर्षित भएका हुन् । सिजनसँगै भेडापालन अर्का युवा तारानाथ सिर्पाली पनि सक्रिय छन्।
तारानाथका अहिले २५ मात्रै भेडा छन् । उनले यस वर्ष भेडाको सङ्ख्या बढाउने बताए। पुस्तान्तरणको अभावमा कतिपय पेसा लोप हुने अवस्थामा पुगे पनि भेडा पाल्ने पेसामा हाम्रो तमानखोलामा पुस्तान्तरण भएको भेडापालक किसान तारानाथको भनाइ छ ।
उनले गाउँपालिकाले युवा भेडापालक किसानलाई भेडीगोठमा आवश्यक त्रिपाल, सोलार र टर्चलाइट वितरण गरेको बताए। खोर सुधारका लागिसमेत पालिकाले समयसमयमा अनुदान दिने गरेको उनको भनाइ छ ।
“गाउँपालिकाले भेडापालन किसानलाई त्रिपाल, सोलार तथा लाइट वितरण गरेको छ, जङ्गलमा गोठ बनाएर बस्दा गाउँपालिकाले दिएको सामाग्रीको निकै महत्व छ”, उनले भने, “भेडापालन पेसा निकै कष्टकर भए पनि दुःख गर्नसके राम्रो आम्दानी हुने पेसा हो ।”
पछिल्लो समय भेडापालक किसान पाउनै मुस्किल भएका सन्दर्भमा उक्त गाउँपालिकाका उच्च पहाडी क्षेत्रका किसानको आम्दानीको मुख्य स्रोत पशुपालन रहेको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले बताए। गाउँपालिकाले भेडापालक किसानलाई खोर सुधार गर्न, त्रिपाल खरिद गर्न र सोलार खरिदका लागि सहयोग गर्दै आएको उनले जानकारी दिए। रासस |
भारत तस्करी गर्न लागिएको मदिरासहित मोटरसाइकल बरामद जलेश्वर। महोत्तरी प्रहरीले गएराति नेपालबाट भारततर्फ तस्करी गर्न लागिएको ठूलो परिमाणको मदिरा र भारतीय नम्बरको मोटरसाइकल बरामद गरेको छ।
जिल्लाको पश्चिमी सीमावर्ती मनरासिस्वा नगरपालिका–९ स्थित दशगजा क्षेत्रबाट भारततर्फ तस्करी गर्न लागिएको अवस्थामा प्रहरीले २२ कार्टुन मदिरा र एक थान मोटरसाइकल बरामद गरेको प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए।
भारतको विहार राज्यमा मदिरा प्रतिबन्धित रहेको अवस्थामा गएराति बीआर ३२ बी ८९२७ नम्बरको मोटरसाइकलमा मदिरा नेपालबाट भारततर्फ लैजाँदै गर्दा दशगजा क्षेत्रमा गस्तीका लागि गएको प्रहरी टोलीलाई देखेर तस्कर मोटरसाइकल र मदिरा छाडेर भागेका थिए।
प्रहरीले सीमा क्षेत्रबाट बरामद गरेको मदिरा र मोटरसाइकल आवश्यक कारबाहीका लागि जिल्लाको मूल भन्सार कार्यालय जलेश्वरमा बुझाउने तयारी गरिरहेको जनाइएको छ। – रासस |
उज्यालो गण्डकी प्रदेशको अँध्यारो मनाङ मनाङ । हिमाली जिल्ला मनाङमा केन्द्रीय विद्युत् प्राधिकरण लाइनसँग जडान हुने गरी विद्युत् उत्पादन भएको छैन । जुनकिरीझैँ आफ्नै उत्पादनमा आत्मनिर्भर हुँदै लघुजलविद्युत्मार्फत उज्यालो बनेको मनाङ बाढीपहिराले अँध्यारोमा धकेलियो ।
मनाङमा सञ्चालित १३ वटा लघुजलविद्युत्को संरचना नै भत्किँदा अँध्यारोमा पुगेका स्थानलाई हालसम्म पनि उज्यालो बनाउन सकिएको छैन । मनाङका केही स्थान लघुजलविद्युत्को भरमा अहिले पनि चलिरहेका छन् । बाढीपहिराले क्षति पुगेका केही लघुजलविद्युत्का संरचना हालसम्म पनि निर्माण तथा मर्मत हुनसकेका छैनन् ।
निर्माण व्यवसायीले भीमताङ लघुजलविद्युत् आयोजनाको मर्मत तथा निर्माणका लागि सामग्री ल्याएर बाटोमा अलपत्र छाडिएको समाजसेवी चेकमान गुरुङले जानकारी दिए।
“सामग्री ल्याएको छ, काम भने हुनसकेको छैन, ठूला जलविद्युत् निर्माणका सामग्री पनि केही ल्याएको छ तर काम आंशिकमात्र भएका छन्”, गुरुङले भने, “कहिले होला खै उज्यालो मनाङ हुने ?”
मनाङमा समयको प्रतिकूलताले गर्दा विद्युत् आपूर्तिमा समस्या आइरहने क्षेत्रमा पर्छ । यहाँका विद्युत्, टेलिफोनलगायतका अत्यावश्यकीय वस्तुको ढुवानी हुनसमेत समस्या हुने स्थान भएकाले समयको अनुकूलता तथा प्रतिकूलताको ध्यान दिएर काम गर्न सकेमा स्थानीयवासीका साथै पर्यटकलाई सहज हुने उनले बताए ।
त्यस्तै नासों गाउँपालिका–८ स्थित सोदीखोला लघुजलविद्युत् आयोजना बाढीपहिराबाट क्षति पुगेपछि हालसम्म पनि सञ्चालन हुनसकेको छैन । जनप्रतिनिधि तथा बुद्धिजिवीले पटक–पटक दबाब दिँदासमेत यस आयोजनाको काम हुन नसक्नु दुःखद् भएको नासों गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङले बताए।
“यस आयोजना भत्किएका भाग निर्माण तथा मर्मत गर्न सके सहज हुन्थ्यो, तर पटक–पटक ताकेता गरे पनि काम गर्न सकिएको छैन”, उनले भने।
बाढीले क्षति पुर्याएको लघुजलविद्युत् मर्मतमा स्थानीयले श्रमदान गरी केही चल्न थालेका छन् । केही न सामग्री ल्याउन सकेका छन्, न त कामदारले काम गर्न नै सकेका छन् । ग्रामीण क्षेत्र भएकाले पनि सामग्री ढुवानीमै समस्या हुँदासमेत ढिलाइ भएको हुनसक्ने स्थानीयको बुझाइ छ ।
मनाङ पहिलोपटक विसं २०७७ मा केन्द्रीय प्रसारण लाइन जडान भयो । केन्द्रीय प्रसारण लाइनको विद्युत् जडान भएको एक वर्ष नपुग्दै विसं २०७८ जेठ १४ देखि हिमाली जिल्ला मनाङमा बाढीपहिराको विपद्मा पर्यो । केन्द्रीय प्रसारण लाइन सरकारी कार्यालयमा मात्रै जडान भएकामा बाढीपहिराले विच्छेद गरायो । त्यसयता यहाँका मानिस अँध्यारोमा नै बस्न बाध्य भएका छन् ।
संघीयता कायम भएसँगै गण्डकी प्रदेश सरकारका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशलाई उज्यालो बनाउने घोषणा गरेका थिए। पूर्वमुख्यमन्त्री गुरुङले घोषणा गरेपछि सुगम मानिने जिल्ला पनि खासै उज्यालो बन्न सकेन । पूर्वमुख्यमन्त्री गुरुङले छिमेकी जिल्लाकै भएकाले मनाङलाई विशेषरूपमा विद्युत् प्रवाहका लागि व्यवस्थापन गर्नुहुन्छ भन्ने मनाङवासीको अपेक्षा भने पूरा हुन सकेन ।
केही सरकारी कार्यालयमा मात्रै जडान गरिएको थियो । तर स्थानीयवासीको घर–घरमा विद्युत् जडान हुनुअगावै बाढीपहिराले क्षति पुगेर आयोजना नै संकटमा पुग्यो । उज्यालो प्रदेश घोषणा गरिएपश्चात केन्द्रीय प्रसारण लाइनको विद्युत्बाट घर–घरमा उज्यालो छाउने अपेक्षा गरेका मनाङ्वासी अहिलेसम्म अँध्यारोमा बस्न बाध्य भएका छन् ।
मनाङका कतिपय पर्यटन तथा होटल व्यवसायीले त व्यक्तिगत लगानीमा लघुजलविद्युत् आयोजना सञ्चालन गरी आफूलाई आवश्यक विद्युत् आपूर्ति गर्ने गरेका छन् । सरकारले कहिले ल्याइदिन्छ भनेर बस्नुभन्दा सकेको आफैँबाट सुरुआत गर्नुपर्छ भन्ने भावनाले यसरी जलविद्युत् सञ्चालन गरिएको भुजुङ गुरुङले बताए।
मनाङ ङिस्याङ गाउँपालिका–८ का वडाध्यक्षसमेत रहनुभएका भुजुङले आफूलाई मात्रै नभई वरपरका स्थानीयवासीलाई समेत विद्युत् प्रवाह गर्ने व्यवस्था गरेका छन्। आफूलाई खपत भएको विद्युत्बाहेक बाँकी स्थानीयवासीलाई वितरण गर्दै आएको उनले बताए।
अँध्यारो मनाङलाई तिलिचो तालसम्म उज्यालो बनाउने उद्देश्यले पोल र तार टाङने काम भने भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । तिलिचोसम्म कहिलेसम्म बिजुली पुगेर उज्यालो बन्छ भन्ने यकिन भने छैन।रासस |
महोत्तरीका साहित्यकारहरू भ्रष्टाचारविरुद्धको आन्दोलनमा महोत्तरी। बीसको दशकयता नेपाली साहित्यमा देखापरेका साहित्यिक आन्दोलनमध्ये केहीमात्र अस्तित्वमा छन । तर ‘राल्फा’ आन्दोलनको चर्चा हिजोआज पनि भइरहन्छ । २०२१ सालमा सरकारका विरुद्ध सुरु भएको राल्फा प्रगतिशील संगीत बनेर स्थापित भयो ।
काठमाडौंमा जन्मिए पनि यो आन्दोलन गाउँगाउँसम्म पुग्यो । पारिजातको नेतृत्वमा यसका अभियन्ता मेची–महाकालीसम्म पुगेका थिए । यस्तै साहित्यिक आन्दोलनको सुरुवात हुने भएको छ, महोत्तरीमा पनि ।
भ्रष्टाचारविरुद्ध सरकारले चालेको कदमलाइ थप सशक्त बनाउन र खबरदारी गर्न प्रगतिशील लेखक संघ महोत्तरीले गणतन्त्र दिवसको अवसर पारेर यसकाे औपचारिक सुरुवात गर्ने भएको छ । `लेखक तथा साहित्यकारहरुले आफ्ना साहित्यिक रचनाको माध्यमबाट आन्दोलन गर्ने तयारी गरेका हौँ, ´ प्रगतिशील लेखक संघ महोत्तरीका अध्यक्ष नारायण घिमिरेले भने।
यसअघि पनि बिद्रोही चेतका कविताका माध्यमबाट जिल्लाका साहित्यकारहरुले आफ्ना रचनाहरु प्रकाशन गर्दै आएका छन । सामाजिक मुद्दाका विषयहरूलाई समेत रचनाका माध्यमबाट प्रष्फुटित गर्दै आएका महोत्तरीका साहित्यकारहरु भ्रष्टाचारको विरुद्ध पहिलोपटक संगठित हुन लागेका हुन् ।
मोफसलबाट सुरु गरिएको यो साहित्यिक आन्दोलन सम्भवत: देश कै पहिलो आदोलन हुन सक्ने प्रगतिशील लेखक संघको दाबी छ । तत्कालीन समयमा रायन र रमेशले रेडियो नेपालबाट पारिश्रमिक नपाएको विषयमा पारिजातले नेतृत्व गरेको राल्फा आन्दोलनको जतिकै भ्रष्टाचार विरुद्धको आन्दोलन सशक्त बन्नुपर्ने अध्यक्ष नारायण घिमिरेले बताए ।
समाजमा विद्रोही चेतका कविताका माध्यमबाट भ्रष्टाचारविरुद्ध चलाइने कलम साहित्यकारहरुको लागि आफैँमा चुनौती भए पनि सबैले त्यसकाे जिम्मेवारीबोध गर्नुपर्ने महोत्तरीका साहित्यकारहरुको बुझाइ छ ।
गणतन्त्र दिवसको दिन बर्दिबासस्थित एक होटलमा हुने आयोजित कार्यक्रममा साहित्यकारहरुले आफ्ना विद्रोही भावहरु व्यक्त गरेर भ्रष्टाचारविरुद्धको साहित्यिक आन्दोलनको सुरु गर्नेछन । |
खप्तडः अब आध्यात्मिक पर्यटनको केन्द्र बझाङ। अहिले खप्तड ‘भू–स्वर्ग’को उपमाले चिनिन्छ । खप्तडको ‘रूप’ फैलावटबारे थाहा पाउन भने आजभन्दा ७७ वर्षअगाडि फर्कनुपर्छ।
चिकित्सक पेसा छाडेर साधनाका लागि विसं १९८६ मा इलाम हुँदै नेपाल प्रवेश गरेका खप्तड बाबाले कालिञ्चोक, मुसिकोट र चन्दननाथमा १६ वर्ष बिताएपछि विसं २००३ मा ‘भू–स्वर्ग’ पुगे। आश्रम बनाउने मजदुर नभेटिएपछि फर्केर लोखाडा (बझाङको खप्तडछान्ना गाउँपालिका–३ खप्तडको फेदी) नजिकै स्थानीयको सहयोगमा कुटी बनाएर तपस्या गर्न थाले।
विसं २००६ मा खप्तडमा अभ्रखखानी उत्खनन गर्न जाँदा तत्कालीन बझाङी राजा रामजङ्गबहादुर सिंहसँग बाटोमै खप्तड बाबाको भेट भयो ।
इतिहासका जानकार विष्णुभक्त शास्त्रीका अनुसार पहिलो भेटमै बाबासँग प्रभावित भएका राजा रामजङ्गले खप्तडमा आश्रम निर्माण गरिदिने बचन दिए। सोही वर्ष खप्तडमा आश्रम बन्यो र खप्तड बाबा साधनाका लागि खप्तड सरे।
गर्मीयामका छ महिना खप्तड लेक र छ महिना खप्तडछान्नाकै दारूगाउँ गरेर खप्तडबाबाले ५० वर्ष खप्तड क्षेत्रमा साधना गरेर बिताए। लामो समय खप्तडमा बिताएका खप्तड बाबाले आफ्ना नाम भने खुलाएनन्।
युगपुरूष भन्दै धेरैले उनको नाम ‘श्री १००८ स्वामी परमहंस परिव्राजकाचार्य योगीराज श्रोत्रीय ब्रह्मनिष्ठ पूर्वीय ज्ञान र पश्चिमी विज्ञानका निष्णात जीवनमुक्त महात्मा सच्चिदानन्द सरस्वती’ राखिदिए। स्थानीयले भने छोटो नाम ‘खप्तड बाबा’, ‘खप्तड स्वामी’ राखे र सोही नामले सर्वत्र चिनिए। उनकै कारण अहिले पनि खप्तडले प्रसिद्धि कमाइरहेको छ ।
खप्तड बाबासँग राजपरिवारको निकटता
विसं २०३८ को वैशाख महिनामा तत्कालीन राजा वीरेन्द्र हेलिकोप्टरमा सुदूरपश्चिम भ्रमणमा निस्किए। कर्णाली नदी हुँदै बाजुराको आकाश भएर खप्तड पुगेका राजालाई पहिलोपटक खप्तड बाबाले नै स्वागत गरे। रानी ऐश्वर्यासँगै खप्तड पुग्नुभएका राजा वीरेन्द्रले बाबासँग लामो भलाकुसारी र विचार मन्थन गरे।
खप्तड बाबाबारे जानकार प्राध्यापक शिवगोपाल रिसालले लेखेको श्रीखप्तड बाबा महाकाव्यमा उल्लेख भएअनुसार राजा वीरेन्द्र हरेक वर्ष बाबालाई भेट्न सपरिवार, सहयोगीसहित खप्तड गइरहन्थे। आफूलाई केही तनाव भए, मुलुकमा केही सङ्कटजन्य परिस्थिति आए राजा वीरेन्द्र खप्तड बाबासँग सल्लाह लिन आइहाल्थे।
खप्तडमा जडीबुटीबारे अनुसन्धान गर्दै ‘धर्म विज्ञान’, ‘विचार विज्ञान’सहित करिब डेढ दर्जन पुस्तक लेखेका खप्तड बाबा र राजा वीरेन्द्रबीच निकटता बढेपछि उनी काठमाडौँसमेत जान थाले। प्राध्यापक रिसालका अनुसार राजा वीरेन्द्रले खप्तड बाबाका लागि बुढानीलकण्ठमा एउटा आश्रमसमेत बनाइदिएका थिए। उनको निधन हुनुभन्दा साता दिन अगाडि पनि बुढानीलकण्ठमै हुनुहुन्थ्यो भन्ने जानकारहरू बताउँछन् ।
लामो समय खप्तडमा साधना गर्नुभएका बाबाको आश्रममै बिरामी भएपछि हेलिकोप्टरमा काठमाडौँ ल्याउने क्रममा कालीगण्डकी नदीमाथिको आकाशमा २०५३ वैशाख २७ गते ब्रह्मलीन भएको इतिहासकार शास्त्री बताउँछन्।
उनका अनुसार बाबाको निधन र वीरेन्द्रको वंश नाशपछि राजपरिवारका सदस्य खप्तड आउन छाडेका थिए । “जीवित छँदा भने गङ्गादशहरामा दर्शन गर्न हरेक वर्ष पूर्वराजा वीरेन्द्र खप्तड पुग्ने गर्नुहुन्थ्यो”, उनले भने।
स्वामी खप्तड पस्नुअघि भने त्यो क्षेत्र लेकमात्रै थियो । घना जङ्गल हुँदा मध्यवर्ती क्षेत्रका बासिन्दासमेत पाटनमा आवतजावत खासै गर्दैनथे । खप्तडसँग स्वामी गासिएपछि भने खप्तडले आफ्नो सौन्दर्यताको प्रचार पायो ।
‘उच्चपदस्थका व्यक्ति’को भ्रमणपछि बाक्लिए पर्यटक
विसं २०७३ असारमा पूर्वयुवराज पारस शाहदेखि पूर्व मुख्यसचिव लिलामणि पौड्यालसहितको टोलीले खप्तड भ्रमण गरेका थिए। त्यसभन्दा अघि माधवकुमार नेपाल प्रधानमन्त्री हुँदासमेत गंगादशहरा मेलामा मन्त्री, सचिवसहित जम्बो टिम हेलिकोप्टरमा खप्तड पुगेको थियो ।
पूर्व युवराज पारस शाहसँग स्व धिरेन्द्र शाहकी छोरी शिताष्मा शाह, पूर्वप्रहरी प्रमुख हेमबहादुर सिंहका छोरा प्रवनजङ्ग सिंह (आध्यात्मिक नामः योगी व्याग्र वेदनाथ) सहित १५–२० जनाको टोली खप्तड पुगेको थियो ।
वेदनाथ ‘बाबा’ बनेकै कारण साधनाका गर्न खप्तड पुगेका थिए। त्यसबेलामा खप्तडमा असुविधाका कारण सबै आवश्यक सरसामानको चाँजोपाँजो मिलाएर भरियासहित खप्तड गएका थिए। पूर्वराजा वीरेन्द्रले उच्च अधिकारीका लागि बनाएको पाहुनागृहमा बसेर पारसको टोलीले एक साता बिताएका थिए भने पौड्यालको टोली दुई दिनमै फर्किएको थियो ।
विसं २०७३ मङ्सिर २३ मा तत्कालीन प्रधानमन्त्री ९वर्तमानसमेत प्रधानमन्त्री० पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खप्तडको अवलोकन गरेका थिए। दार्चुलास्थित चमेलिया जलविद्युत् आयोजनाको अनुगमनमा जानुभएका प्रधामन्त्री दाहाल नेपाली सेनाको हेलिकोप्टरमार्फत खप्तड पुगेका थिए। खप्तडमा उहाँले केही समय बिताएर फर्किएका थिए।
यसरी उच्चपदस्थका व्यक्तिको भ्रमणपछि खप्तडमा पर्यटकको सङ्ख्या बढ्दै गएको हो । खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी निर्देशक भीमबहादुर खड्काका अनुसार उच्चपदस्थका व्यक्तिको भ्रमणपछि हरेक वर्ष सयौँको सङ्ख्यामा आन्तरिक र १०–१५ जना विदेशी पर्यटक थपिँदै गएका छन् ।
योग शिविरमै बाक्लो उपस्थिति
गत वर्ष खप्तड क्षेत्रमा पहिलोपटक योग शिविर सञ्चालन हुँदा सहाभागीको सङ्ख्या बाक्लो रह्यो । योग जागरणका लागि ‘सुन्दर सुदूरपश्चिम खप्तड योग ध्यान शिविर २०७९’ नामक शिविर तीन दिनसम्म चलेको थियो । जसमा अढाइ सयभन्दा बढी योग साधक सहभागी थिए ।
नेपाली सेनाको श्री नम्बर ५ बाहिनी अड्डा राजपुर ब्यारेक दिपायल, खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समिति र डोटी उद्योग वाणिज्य सङ्घको संयुक्त आयोजनामा चिन्तामणिनाथ योगी, योगगुरू पुष्पराज पुरूषसहितको टोली एक सातासम्मै खप्तड बसेका थिए।
खप्तडमा बाबा व्याग्र वेदनाथ भने साधनाका लागि पटक–पटक खप्तड पुगिरहनुहुन्छ । खप्तडमा रहेको नेपाली सेनाका अनुसार खप्तड बाबापछि धेरैपटक खप्तडमा आएर साधाना गर्नेमा वेदनाथ नै पर्नुहुन्छ । गङ्गादशहरा मेलामा आउने बाबाहरू भने दुई–तीन दिन धर्मशालामा बसेर फर्किने गरेको दर्शनार्थीको बुझाइ छ ।
खप्तड अध्यात्मको केन्द्र बन्ने विश्वास
स्वामी रामदेव एक विश्व प्रसिद्ध भारतीय योगगुरू हुन्। योगासन र प्राणायामको सरल विधि सिकाएर योगमा क्रान्ति ल्याएका रामदेव अबको दुई सातापछि खप्तड आउन लाग्नुभएको छ । खप्तडमा हुने अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन २३ जेठदेखि तीन दिनसम्म चल्नेछ ।
खप्तडलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन सुदूरपश्चिम प्रदेश र खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिको आयोजनामा हुने सम्मेलनको प्रधानमन्त्री ‘प्रचण्ड’ले उद्घाटन गर्ने कार्यक्रम छ । सम्मेलनमा पूर्वप्रधानमन्त्री, सरकारका मन्त्री, सबै प्रदेशका मुख्यमन्त्री, मन्त्री, प्रमुख राजनीतिक दलका शीर्षनेता, जगत्गुरू कृपाचार्य, आचार्य बालकृष्णलगायत विशिष्ट व्यक्तित्वसहित करिब पाँच सय जना सहभागी हुने समितिका कार्यकारी निर्देशक खड्काले जानकारी दिए।
“सम्मेलनको उद्घाटनपछि योगी रामदेवले ध्यान गराउने र प्रवचन दिने कार्यक्रम तय गरिएको छ”, खड्काले भने, “त्यसपछि योगाभ्यास गरिने, खप्तडबारे पौराणिक र आध्यात्मिक पक्षमा कार्यपत्र प्रस्तुत गरिने कार्यक्रम तय भएको छ ।”
सम्मेलनमार्फत खप्तडको आध्यात्मिकता र संस्कृति छिमेकी मुलुक भारतसहित विश्वभर पुर्याउन मद्दत पुग्ने सुदूरपश्चिम प्रदेशसभा सदस्य शिवसिं ओलीले बताए। उनले भने, “भारतीय पर्यटकमात्रै भए पनि खप्तड भित्र्याउन सके पर्यटनमार्फत सुदूरपश्चिमको विकासमा ठूलो टेवा पुग्ने अपेक्षा गरेका छौँ ।”
खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिको तथ्याङ्कानुसार पछिल्ला पाँच वर्षमध्ये सबैभन्दा बढी चालु आर्थिक वर्षमा ६३ विदेशी पर्यटकले खप्तडको अवलोकन गर्नुभएको छ । यो सङ्ख्या बढाउनका लागि पनि अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन अनिवार्य भएको प्रदेशसभा सदस्य ओलीले बताए।
मुख्यमन्त्रीको संयोजकत्वमा मूल आयोजक समिति गठन
यही जेठ २३–२५ सम्म सञ्चालन हुने अध्यात्मिक सम्मेलनका लागि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको संयोजकत्वमा चार सय एक सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । समितिमा सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने सङ्घीय सांसद, प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य, पूर्वप्रदेशसभा सदस्य, सुरक्षा निकाय, ८८ वटै स्थानीय तहका प्रमुख, सञ्चार क्षेत्र, पर्यटन, संस्कृति, कला साहित्यलगायत निजी क्षेत्रबाट नेतृत्व गर्ने संस्थाका प्रतिनिधि आयोजक समितिमा छन् ।
सम्मेलन आयोजनाको लागि प्रदेश सरकारअन्तर्गत रहेको खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष हर्कबहादुर सिंहको संयोजकत्वमा तयारी तथा व्यवस्थापन समिति गठन गरिएको छ भने सम्मेलन सफल पार्न १५ वटा विभिन्न उपसमिति गठन गरिएको छ ।
खप्तडको ऐतिहासिकता
पौराणिककालमा ऋषिमुनिहरूले तपस्या गरेको यो क्षेत्रलाई ‘खेचरादी’ पर्वतका रूपमा वर्णन गरिएको छ । खेचरादी पर्वतको नाम विस्तारै अपभ्रंश हुँदै खप्तड रहन गएको किंवदन्ती छ । पौराणिकताअनुसार पाण्डवहरूले १४ वर्ष वनबास बस्दा केही समय खप्तडमा पनि बिताएका थिए । खप्तडमा पाण्डुपुत्र भीमले हलो जोत्दा माटोबाट थुम्का (झोती) बनेको कथन छ ।
संस्कृतिका जानकार खप्तडछान्ना गाउँपालिका–६ का ज्ञानबहादुर खड्काका अनुसार खप्तडमा रहेको केदार ढुङ्गा पनि भीमले भारतको केदारनाथबाट गादो (शरीरमा लगाएको कपडाको अगाडिपट्टिको भाग)मा बोकेर ल्याएका थिए भन्ने कथन छ । “त्रिवेणी पाटनमा केदारढुङ्गा राखेपछि त्यो ठाउँमा पानीको मूल फुटेको किंवदन्ती छ”, उनले भने।
घायलका अनुसार खप्तडमा रहेका चर्चित स्थान सीतापाइला, छिन्तेढुङ्गा, जेठी बहुरानी ढुङ्गा, नागढुङ्गा, सहस्त्रलिङ्ग, खप्तड दह, त्रिवेणी, डाँफेकोट, बलेमेला, माइकाथान, सुकी दहलगायतका चर्चित ठाउँको छुट्टै पौराणिकता रहेको र तत्ठाउँमा स्थानीयले शिवको पूजा गर्दै आएका छन् ।
खप्तडको स्वरूप
धार्मिक तथा पर्यटकीय क्षेत्र खप्तड एक प्राकृतिक सुशोभित क्षेत्र हो । भू–स्वर्गको उपमा पाएको खप्तडलाई पर्यटकले प्रकृतिको अनुपम उपहारका रूपमा चित्रण गर्छन् । आँखाले नभ्याउने विशाल फाँट, हिउँदमा सेताम्मे र वसन्त ऋतुमा रङ्गीविरङ्गी फूलले छोपेका मैदानले खप्तडको आंशिक परिचय दिन्छ ।
वर्षायाममा हरियाली फाँट र हिउँदमा सेताम्य बाक्लो हिउँको अनुभूति गर्नेहरूले खप्तड शास्त्रमा वर्णित अमरावतीभन्दा कम नभएको टिप्पणी गर्छन् । खप्तडका विभिन्न स्थानको आ–आफ्नै महत्व र पौराणिकता छ । खप्तड ‘२२ पाटन, २५ मैदान र ५२ वटा थुम्का (झोती) को सङ्गम’ भनेर पनि परिचित छ ।
समुद्र सतहबाट २४–३७ सय मिटर उचाइमा रहेको खप्तड दुई सय २५ वर्गकिमी क्षेत्रफलमा फैलिएको छ । दुई सयभन्दा बढी प्रजातिका फूल र बहुमूल्य जडीबुटीका साथै कस्तुरी, मृग, बँदेल, डाँफेजस्ता जङ्गली जनावर, सयौँ पक्षीको सुरक्षाका लागि राष्ट्रिय निकुञ्ज स्थापना (२०४२) भएको पाँच वर्षपछि विसं २०४७ मा नेपाली सेनाको ब्यारेक स्थापना गरिएको थियो ।
के–के पाइन्छ खप्तडमा ?
बझाङ, बाजुरा, अछाम र डोटीको सङ्गमस्थल खप्तड राष्ट्रिय निकुञ्जले मध्यपहाडी वातावरण, वनस्पति र वन्यजन्तुको प्रतिनिधित्व गर्दछ । यो क्षेत्रमा झुलेसल्लो, खस्रु, पाउमेल, निगाला, भोजपत्र, गुराँस, रानीसल्लो, ठिगेसल्लो, लौठसल्लालगायतका रूख–वनस्पति पाइन्छन् भने कालकुट, पाँचऔले, नीरमसी, सतुवा, वायुजडी, हत्वाजडी, गँदाल्नो, वनप्याजजस्ता सयौँ प्रकारका जडीबुटी पाइन्छन् ।
हरियो छेपारो, खस्रे भ्यागुता, बझाङे पाहा आदि दुर्लभ जीवदेखि भालु, बँदेल, कस्तुरी, चितुवा आदि जनावर खप्तडमा प्रशस्तै भेटिन्छन् । तथ्याङ्कमा हेर्दा खप्तडमा वन क्षेत्र एक सय ९९ दशमलव ७३, घाँसेमैदान १३ दशमलव ४७, कृषिभूमि नौ र झाडी बुट्यान दुई दशमलव आठ वर्गकिमीमा फैलिएको छ ।
खप्तडमा तीन सय ८२ प्रकारका रूख, वनस्पति तथा जडीबुटी पाइने गरेको तथ्याङ्कले देखाएको छ । जसमा रूख ५७, बुट्यान ७८, घाँसपात दुई सय तीन, लहरा आठ र उन्यु १९ प्रजातिका रहेका छन् । तथ्याङ्कानुसार १२ वटा गुफा भएको खप्तड क्षेत्रमा दुई सय ८७ प्रजातिका पक्षी, २३ प्रजातिका स्तनधारी, १७ प्रजातिका सरिसृप र छ उभयचर प्रजातिका वन्यजन्तु पाइन्छन् ।
सोमबारबाट गंगादशहरा
हरेक वर्ष जेष्ठ शुल्कपक्ष दशमी तिथिमा पर्ने गङ्गादशहरा मेलामा हजारौँ तीर्थालु खप्तड पुग्ने गर्नुहुन्छ । यस वर्ष तीर्थालुको सङ्ख्या बढ्ने अनुमान गरिएको छ । गङ्गादशहराको दिन त्रिवेणीमा नुहाउँदा पाप पखालिने, पितृलाई तर्पण दिँदा पितृले मुक्ति पाउने र स्वर्ग जाने, मनको इच्छा पूरा हुने गहिरो विश्वास रहेकाले गङ्गादशहरा मेला खप्तडको प्रमुख आकर्षण बनेको हो ।
मेला दुई दिनसम्म चल्ने भए पनि पछिल्लो समय विभिन्न जिल्लाले सांस्कृतिक कार्यक्रम तथा खेल प्रतियोगिता गर्ने हुँदा दशहरा हप्ता दिनसम्म लम्बिने गरेको छ । दशहराको पहिलो दिन देउडाले मेलास्थल गुञ्जायमान हुन्छ । भोलिपल्ट त्रिवेणी नदीमा स्नान गरेर सुदूरपश्चिमकै प्रसिद्ध हुड्के नाच, रनपुतला नाचलगायतका नाचबाट तीर्थयात्रीले रोमाञ्चित हुने गर्छन् ।
शुक्रबारबाटै विभिन्न कार्यक्रम हुने खप्तडमा दशहरा मेला भने मङ्गलबार हुनेछ । यस वर्ष खप्तडदेखि प्रसिद्ध धार्मिकस्थल शैलेश्वरी मन्दिरसम्म हाइअल्टिच्युड म्याराथन प्रतियोगिताको दोस्रो संस्करण १७ गते बिहान ६ बजेदेखि सुरु हुने उद्योग वाणिज्य सङ्घ डोटीका अध्यक्ष मोहन कलेलले जानकारी दिनुभयो । उहाँका अनुसार पुरूष म्याराथन प्रतियोगितामा ४२ दशमलव पाँच किलोमिटर दूरी (खप्तड–डोटी शैलेश्वरी) तोकिएको छ भने झिग्रानाबाट सिलगढीको शैलेश्वरी मन्दिरसम्म महिलाका लागि हाफ म्याराथन प्रतियोगिता सोही दिन हुनेछ ।
पुरुष भलिबल प्रतियोगिता जेठ १३ गतेदेखि १६ गतेसम्म खप्तड क्षेत्रमै सञ्चालन गरिने भएको छ भने घोडादौड प्रतियोगिता जेठ १५ गते हुने डोटी उद्योग वाणिज्य सङ्घका महासचिव दीपकबहादुर खड्काले बताउनुभयो । उहाँका अनुसार देउडा प्रतियोगिता १६ गते राति हुने भएको छ ।
डोटी उद्योग वाणिज्य सङ्घ, सुदूरपश्चिम खेलकुद परिषद्को आयोजनामा हुन लागेको प्रतियोगिताको सम्पूर्ण व्यवस्थापन श्री नम्बर ५ बाहिनी अड्डा, श्री भैरवप्रसाद गण सिलगढी र सिंह शार्दुल गुल्म खप्तड ब्यारेकले गर्ने भएका छन् । |
बेलडाँडीका जागरुक महिला : व्यावसायिक तरकारी खेतीबाट गतिलो आम्दानी गर्दै कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका सहकारीमा आबद्ध महिला व्यावसायिक कार्य गरेर गतिलो आम्दानी हात पार्न थालेका छन्। व्यावसायिक तरकारी खेती, बङ्गुरपालन, बाख्रापालन, माछापालनलगायतको कार्य गरेर महिलाले आम्दानी गर्दै आएका हुन्।
गाउँका महिला एकजुट भएर पहिला समूह निर्माण गरी रकम बचत गर्दै आएका थिए। समूहको रकम बढ्दै गएपछि महिलाले कलश महिला कृषि सहकारी संंस्था विधिवतरूपमा दर्ता गरी सञ्चालन गर्दै आएका छन्। पाँच वर्षअघिदेखि सञ्चालनमा आएको सहकारीको सम्पूर्ण व्यवस्थापनको कार्य महिलाले गर्दै आएका छन्। सहकारीको सञ्चालक, सेयर सदस्यदेखि व्यवस्थापक महिला रहेका छन्।
सहकारीमा आबद्ध एक सय ५० महिलालाई आर्थिकरूपमा आत्मनिर्भर बनाउनका लागि चारवटा समूहमा विभाजन गरिएको छ। समूहमा भएको छलफलका आधारमा व्यावसायिक कार्य गर्नका लागि ऋण प्रवाहको कार्य हुने गरेको छ।
व्यावसायिक कार्यमा संलग्न महिलाले आम्दानीको रकम जम्मा गरी घर खर्च चलाउने कार्यसँगै पक्की घर निर्माणमा खर्च गर्दै आएका छन्। सहकारीमा आबद्ध हुनुअघि गाउँका महिलाले श्रीमान्ले मजदुरी गरी ल्याएको रकममा भर पर्नु पर्दथ्यो। एकजुट भएर सहकारीमा आबद्ध भएपछि बेलडाँडी गाउँका महिलाको दिनचर्या नै फेरिएको छ। “पहिला घर खर्च चलाउन श्रीमान्सँग पैसा माग्नु पर्दथ्यो”, सहकारीका सदस्य राधा चौधरीले भनिन्, “हाल श्रीमान्को पकेट खर्च हामीले धान्ने गरेका छौँ।”
तरकारी खेती, बाख्रापालनलगायतको कार्य गरी खेत जोत्नका लागि ट्रयाक्टर खरिद गरेको उनले बताइन्। उनका अनुसार व्यावसायिक कार्यबाट वर्षमा रु सात लाखदेखि रु १० लाखसम्मको आम्दानी हुने गरेको छ। सहकारीका अध्यक्ष मीनादेवी डगौराले सहकारीमा आबद्ध महिलालाई आवश्यकताका आधारमा ऋण उपलब्ध गराउने व्यवस्था रहेको बताइन्।
“ऋण माग गर्ने सहकारीमा आबद्ध महिलाको घरमै पुगेर आवश्यकता भए नभएको यकिन गर्छौँ”, उनले भनिन्, “त्यसपछि मात्रै ऋण दिन्छौँ, गाउँका सबै महिलालाई आत्मनिर्भर बनाउनका लागि प्रयासरत रहेका छौँ।”
सहकारीमा आबद्ध हुनुअघि गाउँका महिलाको कच्ची घरमात्रै थिए। सहकारीमा आबद्ध भएर कृषिजन्य व्यावसायिक कार्य गर्न थालेसँगै आम्दानी बढ्दै गएपछि सबै जनाले पक्की घर ठड्याएका छन्। सहकारीमा आबद्ध बिना चौधरीले व्यावसायिक तरकारी खेतीबाट घर निर्माणसँगै परिवारको खर्च, बालबालिकालाई पढाउँदै आएको निजी विद्यालयको खर्च धान्दै आएकी छन्। उनले खेत जोत्नका लागि पावरटिलर, तरकारी बजारसम्म पुर्याउनका लागि अटो र धान कुटने मेसिन खरिद गरेका छन्।
“घरका पुरुष पहिला मजदुरी गर्दथे”, उनले भनिन्, “महिलाले घरायसी चुलोचौका र मेलापातमै सीमित हुनु पर्दथ्यो, सहकारीमा आबद्ध भएपछि व्यावसायिक कार्य गर्न थालेपछि आर्थिकरूपमा सवल बन्दै गएका छौँ।” पहिला साहुसँग कर्जा माग्न जाने गरेको उल्लेख गर्नुहुँदै उनले व्यावसायिक तरकारी खेती गर्न थालेपछि पैसा अभाव खेप्नु नपरेको बताइन्। सहकारीका सम्पूर्ण सदस्य व्यावसायिक कार्यमा संलग्न छन्।
व्यावसायिक कार्य गर्नेलाई मात्रै सहकारीको सदस्यता दिइने गरेको छ। सहकारीमा आबद्धमध्ये ९६ महिला व्यावसायिक कार्यमा संलग्न छन्। छयालीस व्यावसायिक कृषि कार्यमा र ५० महिला व्यावसायिक पशुपालनमा संलग्न छन्। अन्य सहकारीमा आबद्ध महिलाले थोरै जग्गा भए पनि तरकारी खेती गर्दै आएको सहकारीका सचिव रुपाकुमारी चौधरीले बताइन्। सचिव चौधरीले माछा, बङ्गुर, बाख्रा र हाँसपालन गर्दै आएकी छन्।
व्यावसायिक तरकारी खेती र पशुपालनका लागि सहकारीबाट रु दुई लाखसम्म कर्जावापतको रकम उपलब्ध गराउने व्यवस्था गरिएको छ। व्यावसायिक कार्यमा संलग्न महिलाले तरकारी खेती र पशुपालनको बीमासमेत गरेका छन्। तरकारी खेती र पशुपालनमा आकस्मिकरूपमा क्षति भएमा बीमाबाट रकम क्षतिपूर्तिका रूपमा महिलाले पाउने गरेका छन्। बीमा गरेवापतको रकममध्ये ८० प्रतिशत बीमा कम्पनीले र २० प्रतिशत रकम कृषिजन्य कार्यमा संलग्न महिलाले व्यहोेर्ने गरेका छन्।
क्षतिको यकिन गर्न सहकारीमा आबद्ध महिलाकै नेतृत्वमा बीमा समिति गठन गरिएको छ। सोही समितिले क्षतिको अवस्था निर्धारण गरेको आधारमा क्षतिपूर्तिको रकम पाउने गरेका छन्। सहकारीमा आबद्ध आसमती चौधरी बीमा गर्ने व्यवस्था सुरु भएसँगै ढुक्कसँग तरकारी खेती गर्न सकिएको बताउँछिन्। “तरकारी बालीमा क्षति भए बीमाबाट रकम आउँछ”, उनले भनिन्, “पहिलाजस्तो तरकारी खेतीमा लगानी डुब्ने अवस्था छैन।”
सहकारीमा आबद्ध महिलाकै कारण चुरे फेदीको बेलडाँडी अहिले तरकारी खेती हुने गाउँका रूपमा परिचित भएको छ। जागरुक महिलाको प्रयासले घर खर्च चलाउनका लागि भारतीय बजारमा दरवान र कुल्ली भएर काम गर्ने पुरुष अहिले महिलासँगै तरकारीका बिरुवा रोप्ने, गोडमेल गर्ने, तरकारी टिपेर बजारसम्म बिक्री गर्न जाने गरेका छन्। – रासस |
नारायणगढ–बुटवल सडक विस्तार : मासिए वरपिपलका चौतारा, भत्किए प्रतिक्षालय नवलपुर। पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारका क्रममा सडक किनारमा रहेका दशकौँ पुराना वरपिपलका चौतारा तथा यात्रु प्रतिक्षालय मासिएका छन्। पूर्वपश्चिम राजमार्ग निर्माणको बेला बाटोको दुवैतर्फ किनारमा रहेका चार सयभन्दा बढी वरपिपलका रुख, चौतारा तथा यात्रु प्रतिक्षालय अहिले चार लेन सडक विस्तार सुरु भएसँगै मासिएका हुन्।
नारायणगढ–बुटवल सडक योजना पूर्वी खण्डका सूचना अधिकारी इञ्जीनियर धीरज ढकालले पूर्वी खण्डको ६५ किलोमिटर क्षेत्रमा चार सय दुईवटा वरपिपलका रुख काटिएको जानकारी दिए।
“चार लेनको सडक विस्तारको काम सुरु भएसँगै हामीले सडक किनारका रुखबिरुवा तथा भौतिक संरचना हटाउन सुरु गरेका थियौँ”, उनले भने, “पूर्वी खण्डमा मात्रै दुई सय ५७ वटा पिपल र एक सय ४५ वटा बरका रुख काटिएका छन्, भत्किएका प्रतिक्षालयको तथ्यांक राखिएको छैन।” यस सडकखण्डमा हरेक चोक तथा चौराहामा वरपिपलका रुखमा चौतारा तथा प्रतिक्षालय निर्माण भएका थिए।
यस सडक भएर यात्रा गर्ने यात्रुहरूले प्रतिक्षालय तथा चौतारीका कारण कुन ठाउँ पुग्यौँ भनेर सहजै थाहा पाउने गरेको भए पनि अहिले ठाउँ ठम्याउनै मुस्किल पर्ने गरेको कावासोती–१६ डण्डाका ७० वर्षीय सूर्यनाथ बरालले बताए।
“हामी पहिले नाराणगढ–बुटवलको बाटो धेरै यात्रा गर्यौँ”, उनले भने, “सडक किनारमा रहेका वरपिपलका चौतारा तथा चोकमा निर्माण गरिएका प्रतिक्षालय देखेर कहाँ पुग्यौँ भनेर सहजै थाहा पाउँथ्यौँ।” सडक विस्तारका क्रममा वरपिपलका चौतारा मासिँदा यस सडक भएर यात्रा गरे पनि कुन ठाउँ पुगियो भनेर अलमलमा पर्ने गरेको बरालको भनाइ छ।
“चोक तथा सडक किनारमा रहेका चौतारा र प्रतिक्षालयमा सवारीसाधन कुरेर बस्न पाइन्थ्यो”, उनले भने, “सडक विस्तारसँगै ती संरचना मासिएपछि अहिले चर्को घाममा बसेर सवारीसाधन कुर्नुपर्ने बाध्यता छ।”
पहिले धार्मिक आस्थाका कारण सडक किनारमा रोपेर हुर्काइएका वरपिपलका चौतारी लामो बाटो हिँडेर आएका बटुवालाई थकाइ मार्न सहज हुने गरेको उनको भनाइ छ। “ती चौतारा गाउँ–समाजमा भएका विवाद, झै–झगडा तथा समस्या मिलाउन भेला हुने थलोका रूपमा प्रयोग हुन्थ्यो। तर अहिले बाटो विस्तारसँगै सबै मासिएर गए, यसको संरक्षणमा कसैको पनि ध्यान पुगेन”, उनले भने।
सडक किनारमा रहेका वरपिपलका चौतारी तथा प्रतिक्षालय मासिँदा अबका पुस्ताले चौतारी नै देख्ने नपाउने हुन् कि भन्ने चिन्ता गैँडाकोट–८ का शालिकराम सापकोटालाई लागेको छ। सडक विस्तारका कारण चौतारी धमाधम मासिँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै व्यवसायी सापकोटाले चौतारी तथा प्रतिक्षालयलाई पायक पर्ने स्थानमा पुनःनिर्माण गर्नुपर्ने बताए।
विकासको नाममा हुने यस प्रकारको विनासको तत्काल विकल्प खोजिनुपर्ने र धार्मिक आस्थासँग जोडिएको वरपिपलको चौतारीलाई पुनः अन्य सार्वजनिक स्थानमा स्थानान्तरणसँगै संरक्षण गर्नुपर्ने सापकोटाको भनाइ छ। बढ्दो मानव बस्ती र फैलिँदो सडक सञ्जालको चेपुवामा पुराना चौतारा परेका सापकोटाको भनाइ छ।
स्थानीय तहका प्राथमिकताका विषयमा ग्रामीण क्षेत्रको मौलिकता र पहिचान बचाउने काम समेटिनुपर्ने भए पनि उनीहरूको चासो कम देखिएको सापकोटाले बताए। धार्मिक आस्थासँगै अक्सिजन र औषधिका लागि महत्वपूर्ण मानिने वर–पिपलका रूख सडक विस्तारका क्रममा संरक्षण नहुँदा गाउँघरबाटै लोप हुने अवस्थामा पुगेका उनको भनाइ छ।
अन्य ५० रुखबाट प्राप्त हुने अक्सिजनको मात्रा पिपलको एउटै रूखले दिने र जरादेखि पातसम्मको भाग ४२ प्रकारका औषधिमा प्रयोग हुने आयुर्वेद चिकित्सकहरू बताउँछन्। वरपिपलको जरा धेरै टाढासम्म फैलने भएकाले बाढीपहिरो नियन्त्रणमा यस्ता ठूला रुखहरूले महत्वपूर्ण सहयोग पुर्याउने भूगर्वविद्हरुको भनाइ छ। पहिले गाउँमा मानिसहरूले धर्म कमाउन पोखरी खन्ने तथा वरपिपलका बिरुवा रोप्ने गरेका धार्मिक अभियान्ता आचार्य लक्ष्मण भण्डारीले बताए।
“अघिल्लो पुस्ताले पुण्य हुने भन्दै सार्वजनिक स्थानमा वरपिपल रोपेर चौतारी बनाउने चलन थियो”, उनले भने, “विकासका गतिविधिसँगै बैदिक धर्म मासिन थाल्यो, गाउँका पोखरी र वरपिपल पनि हराउँदै गए।” रोप्ने र संरक्षण गर्ने पाका पुस्ताको अभावमै वरपिपल सङ्कटमा पर्न थालेको आचार्य भण्डारीले बताए।
“सहरीकरणका कारण ठूला–ठूला र घनावृक्ष रोप्न नसकिए पनि गाउँघरमा समेत वरपिपलका रुख नरोपिनु, नहुर्काइनु राम्रो होइन”, उनले भने, “चौतारी भत्काइनु, पोखरी पुरिने ढुंगेधारा कुवाजस्ता जलस्रोतको संरक्षण नगरिनु बडो चिन्ताको विषय हो।”
हाम्रो पुरातन चौतारी, पोखरी तथा देउरालीको संस्कृतिलाई संरक्षण गर्नुपर्नेमा भण्डारीले जोड दिए। परिवर्तनको संघारमा उभिएको वर्तमान समाजले परिवर्तनको नाममा युगौँदेखि चलिआएका सनातन चालचलन र पद्धतिलाई बिगार्न नहुने उनको भनाइ छ। – रासस |
कैलाली बहुमुखी क्याम्पसका प्राध्यापकहरूले बुझाए सामूहिक राजीनामा धनगढी। आन्दोलित कैलाली बहुमुखी क्याम्सपका प्राध्यापकहरूले सामूहिक राजीनामा बुझाएका छन्। क्याम्पसका विभागीय प्रमुखहरू शुक्रबार सामूहिक राजीना दिएर आन्दोलित बनेका हुन्। उनीहरूले क्याम्पसमा तालाबन्दीसमेत गरेका छन्।
सुदूरपश्चिमाञ्चल विश्विद्यालयले सामायोजन हुँदाको समझदारी अनुरुप काम नगरेको प्राध्यापकहरूको गुनासो छ। कैलाली बहुमुखी क्याम्पस २०७७ माघ ४ गते सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको आङ्गिक क्याम्पस बनेको थियो।
विश्वविद्यालयले समायोजन हुँदा गरेका वाचा पूरा नभएपछि प्राध्यापकहरू आन्दोलित हुनु परेको कैलाली बहुमुखी क्याम्पस, प्राध्यापक संघका सभापति शिवप्रसाद सापकोटाले बताए।
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले समायोजन हुँदा कैलाली बहुमुखी क्याम्पसमा व्यवस्थापन संकायको डिनको कार्यालय राख्ने सहमति गरेकोमा त्यो पुरा नभएको उनीहरूको गुनासो छ।
यसैगरी २०७८ बाट क्याम्पसमा वन विज्ञान, २०७९ मा अर्कटेक्चरल इन्जिनियरिङ, २०८० मा कम्प्युटर विज्ञान र २०८१ बाट सिभिल इन्जिनियरिङको अध्यापन कैलाली बहुमुखी क्याम्पसबाट गर्ने भनिएको थियो। तर, अहिले आएर समायोजनकै काम पनि पूरा नभएपछि प्राध्यापकहरू आन्दोलित हुनुपरेको प्रध्यापक संघका सभापति सापकोटाले बताए।
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा पहिलो चरणमा समाहित भएका क्याम्पसका प्राध्यापकहरूको समायोजन अहिलेसम्म टुङ्ग्याउन नसकेको प्राध्यापकहरूको गुनासो छ। |
बीस वर्ष नपुगी विवाह गर्ने १६ प्रतिशत खोटाङ। खोटाङ, ओखलढुंगा र सोलुखुम्बुमा एउटै वस्तुलाई फरक-फरक मुल्यमा बेच्ने गरिएको सरकारी प्रतिबेदन सार्वजनिक भएको छ।
राष्ट्रिय मानव अधिकार आयोगको २३औं वार्षिकोत्सवको अवसरमा आयोगको कोशी प्रदेश शाखा कार्यालय खोटाङले शनिबार दिक्तेलमा आयोजना गरेको शुभकामना आदान-प्रदान कार्यक्रममा बजारमा ‘एउटै बस्तुको मूल्य फरक-फरक’ रहेको प्रतिबेदन सार्वजनिक गरिएको हो।
तीन जिल्लाका बजारमा एउटै वस्तुलाई फरक-फरक मूल्य तिर्न वाध्य बनिरहेका उपभोक्ताको हकहित संरक्षणमा स्थानीय तहको भूमीका सशक्त हुन नसकेको मानव अधिकार आयोगले जनाएको छ।
चाडवाडको समयमा सवारी साधनको भाडा नियन्त्रण हुन नसकेको लगायतका विषयलाई मानव अधिकारको अवस्थामा सुधार हुन नसकेको पक्षमा उल्लेख गरिएको छ।
मानव अधिकार सम्वन्धी पाँचौं राष्ट्रिय कार्ययोजना र दिगो विकास सम्वन्धी सुचकहरुलाई स्थानीयकरण गरी कार्यान्वयन गर्ने सम्वन्धमा तीन जिल्ला समन्वय समिति सहित अधिकांश स्थानीय तह गम्भीर नभएको आयोगले जनाएको छ।
यौन दुर्व्यहार बढेकोबढ्यै, छात्रा स्कुलमै असुरक्षित
मानव अधिकार आयोगले खोटाङ, ओखलढुंगा र सोलुखुम्बुमा अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष महिला हिंसा विरुद्धका बलात्कार, जवरजस्ती करणी, यौन दुर्व्यवहारका घटना बढेको औंल्याएको छ।
शिक्षण संस्थामा शिक्षक तथा प्रअबाटै बालबालिकाहरु यौन हिंसामा परेको घटनाहरु समेत आइरहेको आयोगले जनाएको छ। चालु आर्थिक वर्षको बैसाखसम्ममा खोटाङमा दुई, ओखलढुंगामा सात र सोलुखुम्बुमा दुई वटा बालयौन दुरुपयोग बिरुद्धका मुद्दा दर्ता भएको तथ्यांकमा उल्लेख छ।
स्वास्थ्य संस्थामा समयमा औषधि पुग्दैन
आयोगले गम्भीर रोगको उपचारका लागि महंगो मुल्यमा हवाई चार्टर गर्नुपर्ने अवस्था कायम रहेको औंल्याएको छ। निःशुल्क वितरण गरिनुपर्ने औषधिहरु संघ, प्रदेश र स्थानीय तहको समन्वय अभावमा समयमा नै स्वास्थ्यचौकीमा पुग्न नसकेको प्रतिबेदनमा भनिएको छ।
‘संविधान र ऐनको व्यवस्था अनुकुल निःशुल्क स्वास्थ्य शिक्षा पाउने अधिकार पूर्णरुपमा कार्यान्वयन हुन सकेको छैन,’ प्रतिबेदनमा भनिएको छ, ‘ज्येष्ठ नागरिकको अधिकार संरक्षणमा ऐनमा भएका व्यवस्था र अदालतको आदेश अझै कार्यान्वयन भएको छैन।’
तीन जिल्लामा वाल बिवाहको संख्या तथ्यांकमा कम देखिए पनि अवस्था चिन्ताजनक रहेको आयोगले जनाएको छ। आयोगको अनुगमनबाट ओखलढुंगा र खोटाङमा २० वर्ष उमेर नपुगी बच्चा जन्माउने महिलाको संख्या कम्तीमा १६ प्रतिशत देखिएको भनिएको छ। आयोगका अनुसार भेदभाव तथा छुवाछुतको व्यवहारिक रुपमा अन्त्या हुन सकेको छैन।
यस्तै, खोटाङ, ओखलढुंगा र सोलुखुम्बुमा विगतका वर्षझैं यस वर्ष पनि आत्महत्या दर बढ्दो रहेको प्रहरीको तथ्यांकमा देखिएको छ। आत्महत्य न्युनीकरणका लागि हाल कुनै निकायबाट प्रभावकारी पहल र प्रयास नभएको आयोगले जनाएको छ । प्रतिबेदनका अनुसार हत्याका घटनाहरु बढिरहेका छन्।
घटेन विपक्षीप्रति अमर्यादित शव्द प्रयोग
आयोगले ठेकेदारको लापरवाहीको कारण सडक निर्माण र विस्तारका कार्यहरुमा ढिलासुस्ती भएको पाइएको जनाएको छ। स्थानीय तहबाट विकास निर्माण कार्यमा समेत मानव अधिकारमुखी/वातावरणमुखी विकास पद्धतिको अवलम्बन नभएको प्रतिबेदनमा भनिएको छ।
यस्तै, राजनीतिक दलबाट विपक्षीलाई अमर्यादित शव्दबाट सम्बोधन गर्ने कार्य नरोकिएको, आयोगले मानव अधिकार उल्लंघनकर्ता भनी नाम सार्वजनिक गरेका व्यक्ति वा पदाधिकारी उपर कारबाही नभएको, खोटाङमा तीन महिलाको रहस्यमय तरिकाबाट भएको हत्याको सम्वन्धमा अनुसन्धान जारी रहेपनि दोषी पत्ता लाग्न नसकेको आयोगले जनाएको छ।
कार्यक्रममा निवर्तमान प्रतिनिधिसभा सदस्य बिशाल भट्टराई, पुर्वसांसद कुलप्रसाद फुयाँल, जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई लगायतले आ-आफ्नो धारणा राखेका थिए। |
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा श्रमदान अभियान खाेडाङ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले श्रमदान अभियान सुरु गरेको छ। जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह (१५ वडा रहेको) यस नगरपालिकाले जिल्लास्थित विभिन्न सङ्घसंस्थासँगको सहकार्यमा शनिबारदेखि औपचारिकरूपमा श्रमदान अभियान सुरु गरेको हो।
श्रमदान अभियानअन्तर्गत पहिलो चरणमा ग्रामीण सडक निर्माण तथा मर्मत गरिने नगर उपप्रमुख विशन राईले बताए। “देश आर्थिक संकटमा फस्दै गएको छ। सानातिना सबै विकासे कामका लागि नगरपालिकाले बजेट उपलब्ध गराउन सक्ने अवस्था छैन”, उनले भने, “जसरी भए पनि नागरिकलाई सेवा दिनु हाम्रो कर्तव्य हो। नगरभित्रका सबै ग्रामीण सडक वर्षा सुरु हुनेबित्तिकै अवरुद्ध हुने गरेका छन्। ती सबै ग्रामीण सडकलाई बाह्रै महिना सञ्चालन गर्ने गरी श्रमदान अभियान थालिएको हो। अभियानमा सबैको साथ र सहयोग अपरिहार्य छ।”
नगरपालिकाले सुरु गरेको श्रमदान अभियानमा उद्योग वाणिज्य संघ, खोटाङ यातायात प्रालि खोटाङ, ट्र्याक्टर तथा टिपर व्यवसायी संघ, टोल विकास समिति, स्थानीय बासिन्दालगायतको सहभागिता रहेको छ। ट्र्याक्टर तथा टिपर व्यवसायी संघमा आबद्ध एकजना व्यवसायीले कम्तीमा रु ४० हजार बराबरको श्रमदान उपलब्ध गराउने गरी अभियानमा सहभागी भएका छन्।
श्रमदानको पहिलो दिन दिक्तेल–खार्मी–पाथेका सडकखण्डको करिब १२ किलोमिटर लामो सडकखण्डमा पर्ने सोल्मामा श्रमदान गरिएको हो। श्रमदान अभियानमा नगरप्रमुख तीर्थराज भट्टराई, उपप्रमुख विशन राई, वडाध्यक्ष ध्रुवविक्रम राई, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिलगायतको सहभागिता थियो।
जिल्लाको उत्तरी क्षेत्र जोड्ने उक्त सडकखण्डमा सडकमाथिबाट झरेको पहिरो हटाउने, खाल्डाखुल्डी पुर्ने, नाली निर्माण गर्ने, झाडी सफा गर्नेलगायतका काम गरियो। पहिलो दिनको श्रमदानमा चारवटा ट्रयाक्टर र एउटा जेसिबी प्रयोग गरेर खाल्डाखुल्डी पुरिएको वडा नं २ सोल्माका वडाध्यक्ष राईले बताए।
श्रमदान अभियानअन्तर्गत दिक्तेल-खार्मी-पाथेका सडकखण्डको सोल्मामा बगरेभञ्ज्याङबाट रोडा (ढुंगाको मसिनो टुक्रा) ल्याएर खाल्डाखुल्डी पुर्ने काम भइरहेको छ। नगरपालिकाको जेसिबी र व्यवसायीको ट्रयाक्टरमार्फत ल्याइएको रोडा श्रमदानमा सहभागीले गैँती, बेल्चा र कोदालो प्रयोग गरेर खाल्डाखुल्डी पुर्ने गरेका छन्।
नगरपालिकाले थालेको श्रमदान अभियानमा ट्रयाक्टर व्यवसायीहरू स्वःस्फूर्तरूपमा सहभागी भएको मेरुङ कन्ट्रक्सन प्रालिका सञ्चालक भलकाजी पुरीले बताए। “जिल्लामा एक सय ३० वटा ट्रयाक्टर सञ्चालनमा छन्। नगरभित्रमात्रै ८०-८५ वटा ट्रयाक्टर नियमितरूपमा सञ्चालनमा छन्। नगरभित्रका व्यवसायीको सबै ट्रयाक्टरलाई कम्तीमा एक दिन श्रमदान गर्न अनुरोध गरिएको छ”, उनले भने, “दिउँदमा हिलो र वर्षामा हिलोको कारण नगरपालिकाभित्रका सबै ग्रामीण सडकमा सहजरूपमा ट्रयाक्टरसमेत सञ्चालन हुने अवस्था छैन। नगरपालिकाले थालेको श्रमदान अभियानले ट्रयाक्टर व्यवसायीलाई समेत सहयोग पुग्ने अपेक्षा गरेका छौँ।”
नगरपालिकाले थालेको श्रमदान अभियानमा दिक्तेल बहुमुखी क्याम्पसलगायत जिल्लाका अन्य शैक्षिक संस्थामा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीसमेत सहभागी हुने भएका छन्। जिल्लास्थित सरकारी कार्यालय तथा सुरक्षा निकायलाई समेत श्रमदान अभियानमा सहभागी गराइने नगरपालिकाले जनाएको छ।
सानातिना विकासे योजनाका लागि समेत सरकारको मुख ताक्ने संस्कृतिको विकास भइरहेको अवस्थामा नगरपालिकाले श्रमदान अभियान सुरु गरेर राम्रो सन्देश दिएको वरिष्ठ पत्रकार कृष्ण आचार्यले बताए। “हाम्रो समाजमा आफूले गरेको फोहरसमेत अरुले नै गरिदिनुपर्ने संस्कारको विकास हुँदै गएको छ। यो राम्रो होइन”, उनले भने, “नगरपालिकाले सुरु गरेको श्रमदान अभियानले आफ्नो लागि आफैं गर्न सक्छौँ भन्ने सन्देश दिएको छ। यो अभियान कसैका लागि लक्षित गरेर लागू गर्नुभएन। एक जना व्यक्तिको फाइदाका लागि गर्नुभएन। सार्वजनिक सरोकारका विषयलाई समेट्न सक्नुपर्छ। त्यसो गरेको खण्डमा अभियान सफल हुन्छ।”
नगरपालिकाले थालेको श्रमदान अभियानलाई आफूहरूको कार्यकालभरि निरन्तरता दिने योजना बनाइएको नगरप्रमुख भट्टराईले बताए। “पहिलो चरणमा नगरपालिकाभित्र पर्ने ग्रामीण सडक मर्मत गर्ने कामबाट सुरु गरिएको श्रमदान अभियान हाम्रो कार्यकालभरि जारी राख्ने छौँ। श्रमदान अभियानअन्तर्गत नगरपालिकाभित्रका सडक, सार्वजनिकस्थलहरुको मर्मत तथा सरसफाइ लगायतका क्रियाकलाप गरिनेछ”, उनले भने, “नगरपालिकाले सुरु गरेको श्रमदान अभियानले नागरिकमा श्रम संस्कृतिको विकास हुने अपेक्षा गरिएको छ।”
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले थालेको श्रमदान अभियानलाई जिल्लामा निकै महत्वका साथ हेरिएको छ। जिल्लाको प्रमुख व्यापारिक केन्द्र तथा सबै सरकारी कार्यालय रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मध्यपहाडी लोकमार्गबाहेक अन्य ग्रामीण सडक कच्ची अवस्थामा सञ्चालन हुँदै आएका छन्। रासस |
सुरुङमार्ग निर्माण थाल्न सबैको पहल जरुरी : सभामुख घिमिरे विदुर । सभामुख देवराज घिमिरेले नुवाकोटलाई राजधानीसँग सहजरूपमा जोड्नका लागि सुरुङमार्गले पूर्णता पाउनुपर्ने बताएका छन् ।
आज दुप्चेश्वर गाउँपालिका–६ रामतीस्थित दुप्चेश्वर माध्यमिक विद्यालय परिसरमा वामपन्थी नेता गणेश पण्डितको अर्धकदको सालिक अनावरण गर्दै जिल्लाको विकासप्रति सबै दलले चासो दिनुपर्ने बताए ।
काठमाडौँको टोखा हुँदै नुवाकोट आएका सभामुख घिमिरेले भने, “टोखा–छहरे सुरुङमार्ग निर्माणको कुरा धेरै सुनिएको छ । सुरुङमार्ग चाँडो निर्माण हुनु आवश्यक छ । सुरुङमार्ग निर्माण भएमा नुवाकोटको कायापलट हुनेछ ।”
सभामुख घिमिरेले इलामका किसानको जीवनस्तर उकास्न अलैँची, अदुवा खेतीको भूमिका भएको जस्तै नुवाकोटका किसानको जीवनस्तर उकास्न पनि सुरुङमार्गको भूमिका हुने बताए । उनले सुरुङमार्ग सुरुमा धेरै खर्च लाग्ने भए पनि यसले दीर्घकालीन फाइदा दिने भएकाले निर्माण आरम्भ गर्नका लागि सबैको ध्यान जानुपर्ने बताए ।
उनले नेपालको वामपन्थी आन्दोलनमा गणेश पण्डितको योगदान उच्च रहेको बताए । शिक्षासेवी, राजनीतिज्ञ, वाम लोकतान्त्रिक आन्दोलनमा अगुवा पण्डितको शैक्षिक तथा भौतिक विकासको सपना पूरा गर्न सकेमात्र उनीप्रति उचित सम्मान हुने उनले धारणा राखे ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद अर्जुननरसिंह केसीले नुवाकोटको पूर्वी भेगको राजनीतिक जागरण र शैक्षिक जागरणमा गणेश पण्डितको योगदान उल्लेखनीय रहेको बताए ।
नेकपा (माओवादी केन्द्र)का नेता तथा सांसद हितबहादुर तामाङ, सांसद विमला सुवेदी, बागमती प्रदेशसभा सदस्य राधिका तामाङ, एमालेका पूर्वसांसद नारायणप्रसाद खतिवडालगायतले पण्डितले जिल्ला र राष्ट्रको विभिन्न क्षेत्रमा पुर्याएको योगदानबारे चर्चा गरेका थिए ।
एक दशकभन्दा लामो समय जिल्लाको पूर्वी भेगका विभिन्न विद्यालयमा शिक्षक भएर काम गरेको पण्डित विसं २०४२ को बमकाण्डमा पक्राउ परी १४ महिना जेल परेका थिए ।
विसं २०४८ को निर्वाचनमा नेकपा (एमाले)को तर्फबाट नुवाकोट क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका वामपन्थी नेता पण्डितको २०७६ सालमा ७३ वर्षको उमेरमा निधन भएको थियो । पण्डित २००३ सालमा शिखरबेँसीमा जन्मिएका थिए । गणेश पण्डित स्मृति केन्द्रको अगुवाइमा उनको सालिक निर्माण गरिएको हो । |
गौतमबुद्ध विमानस्थल नियमित सञ्चालनको माग रुपन्देही । उद्योगी–व्यवसायीले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण र नियमितरूपमा सञ्चालनका लागि पहल गर्न लुम्बिनी प्रदेश सरकारका मन्त्रीसँग माग गरेका छन् ।
उनीहरूले विमानस्थलमा अन्तर्राष्ट्रिय उडान नहुँदा विकासमा बाधा पुगेको गुनासो गरेका हुन् । चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार सङ्गठन, रुपन्देही) ले आज भैरहवामा आयोजना गरेको लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानून तथा सहकारीमन्त्री सन्तोषकुमार पाण्डेय र सामाजिक विकासमन्त्री चन्द्रकेश गुप्ता (सिके) गुप्ताको स्वागत, बधाई तथा शुभकामना कार्यक्रममा उद्योगी–व्यवसायीले यस्तो माग गरेका हुन् । उनीहरूले विगतमा पनि विमानस्थल पूर्ण र नियमितरूपमा सञ्चालनका लागि विभिन्न दबाबमूलक कार्यक्रम गरिएको जनाउँदै थप दबाब आवश्यक रहेको जनाए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणअघि नै विमानस्थलबारे भारत सरकारसँग छलफल गर्न प्रदेश सरकारले आफ्नो भूमिका निर्वाह गर्नुपर्ने उनीहरूको भनाइ छ । चेम्बर अफ कमर्स, रुपन्देहीका अध्यक्ष अनिलकुमार ज्ञवालीले नागरिकले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका निर्माणका लागि जग्गा तथा घर नै दिए पनि विमानस्थलमा अन्तर्राष्ट्रिय उडान हुन नसक्दा नागरिक निराश भएको बताए ।
अध्यक्ष ज्ञवालीले खुल्ला सीमाका कारण स्वदेशी व्यवसायी मर्कामा परेको उल्लेख गर्दै ४० प्रतिशत सटर खाली भइसकेको जानकारी गराए । चेम्बर अफ कमर्स, रुपन्देहीका निवर्तमान अध्यक्ष नारायणप्रसाद भण्डारीले समग्र रुपन्देही र लुम्बिनीको विकास आवश्यक रहेको बताए । उनले लुम्बिनीमा सञ्चालित गुम्बा तथा मोनाष्ट्रीमा पर्यटक राख्दा त्यहाँ सञ्चालित होटल धरासायी भएको गुनासो सुनाए ।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित र पूर्णरूपमा सञ्चालनका लागि आन्दोलनका कार्यक्रम गरिएको उनले बताए । उनले लुम्बिनी र लुम्बिनीको प्रवेशद्वार भैरहवा क्षेत्रमा रहेका समस्या समाधानका लागि अग्रसर हुन मन्त्रीहरूसँग आग्रह गरे । सिद्धार्थ होटल एशोसिएशनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले उद्योग, पर्यटन र व्यवसायको विकासका लागि सरकारको ठूलो हात रहने भएकाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि जनप्रतिनिधिको भूमिका रहने बताए ।
विमानस्थल नियमितरूपमा सञ्चालनका लागि विभिन्न चरणका आन्दोलन र छलफल भए पनि मन्त्री र सचिवबाट आश्वासन मात्रै पाएको उनले गुनासो गरे ।
लुम्बिनी प्रदेश सरकारका सामाजिक विकासमन्त्री गुप्ताले उद्योगी व्यवसायीसँग हातेमालो गर्दै अघि बढ्ने बताए । उनले विमानस्थल पूर्ण र नियमित सञ्चालनका लागि प्रदेश सरकारबाट सक्दो पहल गरिने बताए ।
लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला, कानून तथा सहकारीमन्त्री सन्तोषकुमार पाण्डेयले विमानस्थल पूर्ण सञ्चालनका लागि सङ्घीय सरकारसँग निरन्तर पहल भइरहेको बताए । लुम्बिनी प्रदेश सरकारका प्रवक्तासमेत रहेका मन्त्री पाण्डेयले बेथरी पुल निर्माण कार्यलाई फास्ट ट्र्याकमा अगाडि बढाउन निर्माण व्यवसायीलाई निर्देशन दिइएको जानकारी दिए । |
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले वर्षा काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको प्रभावले हाल बदली र वर्षा भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार अहिले सुदूरपश्चिम, गण्डकी र कोशी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । काठमाडौँ उपत्यकामा अपराह्नतिर हल्का वर्षाको सम्भावना छ । प्री–मनसुन जारी रहेको र स्थानीय वायुका साथै पश्चिम न्यून चापीय प्रणालीको प्रभावले वर्षा भइरहेको मौसमविद् लामिछाने बताउँछन । ।
आज विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्य र अन्य भू–भागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भेगका केही स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना छ । राति पनि सोही किसिमको मौसमी प्रणाली कायम रहनेछ । तराई क्षेत्रमा हुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ । |
लगातारको हावाहुरीबाट निरास छन् फलफूल र तरकारी किसान महाेत्तरी। लगातारको हावाहुरीले महोत्तरीका फलफूल र तरकारी किसान निरास भएका छन्। जेठ लागीकन प्रत्येक दुई/तीन दिनको फरकमा चलेको हावाहुरीले बग्रेल्ती आँपका दाना झार्नसँगै लहरे तरकारीका बेला (लहरा) हुत्याएर चुँडाएपछि उत्पादन हात नलाग्ने भएपछि किसान निरास भएका हुन्। पछिल्लो पटक शुक्रबार गएरातिको हावाहुरीले बग्रेल्ती आँप झारेका छन्।
त्यसैगरी फर्सी, लौका, घिरौँला, झिगिँनी, काँक्रा र चिचिन्डासहितका तरकारी बालीका बेला (लहरा) हुत्याउँदै चुँडाएर नोक्सान गरेपछि किसानको पिरोलो बढेको हो।
“हेर्नोस् न, जेठ लागीकन दिनहुँजसो हावाहुरीले झारेका आँप टिप्दै दिन जान्छ, मुखमै आएको बाली सखाप भएको छ”, आज सखारै बग्रेल्ती झरेका आँप टिप्दै भङ्गाहा-४ रामनगरका ६० वर्षीय किसान शुभलाल ठाकुरले भने, “जेठ मध्यतिर यत्रो हाहाहुरी त्यति भोगिएको थिएन, खै के हुन लागेको हो!”
अब १५/१६ दिन दुःख काट्दा एउटा बाली हात लाग्छ भन्ने आश पनि मरेको ठाकुर बताउँछन्। तराईमा चाँडै पाक्ने जातको बम्बै आँप जेठ अन्तिममा तयार हुन्छ। तर दुई साताअघिको हावाहुरीले आँप झारेपछि दुःख लागेको ठाकुरको भनाइ छ।
महोत्तरीमा जेठमा प्रत्येक दुई/तीन दिनमा हावाहुरी चल्दै आएको छ। बिहीबार साँझ र शुक्रबार रातिको हावाहुरीले झारेका आँप किसान कौडीका दाममा बेच्दैछन्। हुरीले झारेर फुटाएको आँप त मिल्काउनुबाहेक कुनै विकल्प नभएको ठाकुरकै छिमेकी किसान जब्बार शेष बताउँछन्।
विगतमा चैत/वैशाख हावाहुरीको समय हुने र जेठ लागेपछि त्यति नलाग्ने भोग्दै आएका किसानलाई यसपाली जेठमा लगातार चलेको हावाहुरीले अत्याएको छ।
“जेठको दुई साता नबित्दै पाँच/छ पटक हावाहुरीले हामीलाई चिल्लीबिल्ली बनाएको छ”, बर्दिबास-९ पशुपतिनगर टोकीटोलका किसान रामचन्द्र थापामगर भन्छन्, “आँप झरे, तरकारीका लहरा चुँडिएर लत्रिएका छन्, भर्खर घोगा लाग्दै गरेका मकैका बोट लडाएर सोतर बनाएको छ।” प्रकृति अनुकूल नहुँदा विपदैविपद् खेप्नुपरेको थापाको भनाइ छ।
हावाहुरीसँगै मेघगर्जन सुनिए पनि पानी भने त्यति नपरेको किसान बताउँछन्। “हावाहुरीपछि पानी त परेको छ, तर धानको ब्याड राख्नेगरी माटो गालेर परेको छैन”, गौशाला-१० लक्ष्मीनियाँका किसान महेश्वर महतो भन्छन्।
जिल्लाको उत्तरी क्षेत्रका बर्दिबास, गौशाला र भङ्गाहा नगरपालिका फलफूल र तरकारी उत्पादनका पकेटक्षेत्र मानिन्छन्। उत्तरीक्षेत्रका बर्दिबासका खयरमारा, टुटेश्वर, ढुङ्ग्रे, चेरु, माइस्थान, सोनापेटी, भब्सी, पाटु, विजलपुरा र पशुपतिनगर सहितका बस्तीको त मुख्यबाली नै फलफूल (बगैँचा) खेती हो। बगैँचा खेतीमा पनि मुख्य आँप रहँदै आएको छ।
जिल्लाका मध्य र दक्षिणवर्ती क्षेत्रका पिपरा, मटिहानी, जलेश्वर, रामगोपालपुर र मनराशिशवाको स्थानीय तहको बस्तीमा पनि बगैँचा खेती बाक्लै छ। जेठ अन्तिमदेखि लगालग एकपछि अर्को जातका आँप पाक्नेक्रम सुरु हुन्छ। यसरी मुखमै आएको बाली हावाहुरीले सखाप पारेपछि अब वर्षभरिको गुजारा केले चलाउने भन्दै किसान टोलाएका छन्।
दुःखका बेला साथ पाइने आशले आफैँले चुनेका प्रतिनिधिले फर्केर नहेरेपछि चित्त कुड्याउँदै भङ्गाहा–४ का किसान चन्देश्वर राय दनुवार भन्छन्, “सबै सुखका साथी रहेछन्।” पुराना तरकारी उत्पादक किसान दनुवारले हावाहुरीले लहरे तरकारी नोक्सान पारेपछि अब के गर्ने भन्ने नै रनभुल्लमा परेको बताए।
चैत/वैशाख हावाहुरीको समय भन्ने बुझ्दै आएका किसान जेठ लागेपछि फलफूल र तरकारी अब चैँ हात लाग्ने विश्वासमा थिए। तर पुरानो ऋतु रीतिथिति फेरिएर जेठमा हावाहुरी चल्न थालेपछि किसानमा निरासा बढेको हो। यसपाली जेठ लागीकन सयौँ बिघाको फलफूल र तरकारी बाली हावाहुरीले नोक्सान गरेको छ।
अहिले जेठमा निरन्तर केही दिनको फरकमा चल्दै (बहदै) आएको हावाहुरी यहीँ मात्र नभई विश्वव्यापी जलवायु परिवर्तनको प्रभावले भएको विज्ञको मत छ। मानवको घच्चपच्चले प्रकृतिका पुराना रीति फेरिँदा कुसमयको हावाहुरी, बर्खा, गर्मी, शीतलहरजस्ता प्रकोप झेल्नुपरेको रुपान्तरण सामाजिक संस्थाका जलवायुविज्ञ विराट पन्त बताउँछन्।
“यो प्रभाव न्यूनीकरण गर्न प्राकृतिक स्वरुपको रक्षा र प्रभाव अनूकूल आनीबानी र खेतीपाती गरिन पर्छ”, पन्त भन्छन्। राज्यका सबै अङ्गले यो अनुकूलन विधि अँगाल्न आमजनतालाई अभिप्रेरित गर्नुपर्ने पन्तको सुझाव छ। रासस |
पदमार्गको आकर्षण : रैथाने प्रजातिका गुराँस मौरिस हर्गोज म्याग्दी। नेपालमा मात्र पाइने रैथाने प्रजातिका गुराँस म्याग्दीको मौसिज हर्गोज पदमार्गको आकर्षण बनेको छ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङदेखि हुमखोला हुँदै अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने मौसिस हर्गोज पदमार्गमा पाइने ‘रोडोडेन्ड्रन कोवानियनम’ र ‘रोडोडेन्ड्रन लोन्डेसी’ नेपालमा मात्रै पाइने रैथाने गुराँस प्रजाति हुन्।
दुई हजार आठ सय ८३ मिटर उचाइको हुमखोलादेखि तीन हजार पाँच सय ५३ मिटर उचाइमा रहेको भुसकेटमेला पुग्ने अन्नपूर्ण खोला वारिपारिका पाखामा वसन्त ऋतुमा ढकमक्क फुलेको गुराँसले पर्यटक लोभ्याएको हो।
अन्नपूर्ण गाउँपालिका-४ का वडाध्यक्ष लोकबहादुर फगामीले अन्नपूर्ण हिमाल आरोहण, पच्चकुण्ड नारच्याङ ताल र मौसिज हर्गोज पदमार्ग भ्रमणमा आउने स्वदेशी तथा विदेशी पर्यटकका लागि ‘फुच्चे गुराँस’ थप आकर्षण बनेको बताए।
“मौरिस हर्गोज पदमार्ग आरोहण र पदयात्राका लागि मात्र नभएर नेपालमा मात्र पाइने गुराँसको अवलोकन गर्न सकिन्छ”, उनले भने, “झाडीधार वनस्पतिमा पर्ने यो प्रजातिको गुराँस लाङ्टाङ र गोसाइँकुण्ड क्षेत्रमा पाइने अभिलेख भएको छ।अन्नपूर्ण क्षेत्रमा पनि पाइने अभिलेख गराउन पहल गरेका छौं।”
आधा मिटरदेखि तीन मिटरसम्मको उचाइ हुने यो गुराँस फुलेको बेला पातसँगै निस्कने वनस्पतिविद् कमल मादेनले बताए। उनका अनुसार लाङ्टाङ क्षेत्रमा यो गुराँसलाई किसुर भनेर पनि चिनिन्छ।
“अप्रिलदेखि जुन महिनामा फुल्ने यो गुराँस गुलाबी हुन्छ। रोडोडेन्ड्रन कोवानियनमको पातमा रौँजस्ता ससाना भाग देखिन्छन्”, उनले भने, “रोडोडेन्ड्रन कोवानियनम र रोडोडेन्ड्रन लोन्डेसी नेपालमा मात्रै पाइने रैथाने गुराँस प्रजाति हुन्। यी नेपालबाहेक संसारका अन्य स्थानमा रेकर्ड भएका छैनन्।”
वनस्पतिविद् मादेनले सन २०१९ मा नारच्याङदेखि अन्नपूर्ण आधार शिविर भ्रमणमा जाने क्रममा यस प्रजातिका गुराँस पहिचान गरेका थिए। रोडोडेन्ड्रन कोवानियनम प्रजातिको फूल फुल्दा पात कम पलाएका हुन्छन्।
सन् १९५० मा बेलायती वनस्पतिविद् ओलेग पोलुनिन नेपालमा अध्ययन गर्न आएका बेला यो प्रजाति लाङ्टाङबाट संकलन गरेका थिए। अध्ययन गर्ने क्रममा यो संसारकै लागि नयाँ प्रजातिको गुराँस भएकाले यसको नाम रोडोडेन्ड्रम कोवानियनम राखिदिएका थिए। उक्त नाम स्कटिस वनस्पतिविद् जोन म्याकक्विन कोवानको सम्मानमा राखिएको थियो।
रोडोडेन्ड्रन कोवानियनम प्रजातिको गुराँसको उचाइ डेढदेखि तीन मिटरसम्म हुन्छ। यो गुराँस पूर्णरूपमा फुल्दा पात पलाइसकेको हुने मादेनले बताए। विश्वमा गुराँसका हजारभन्दा बढी प्रजाति छन्।
तीमध्ये नेपालमा ३३ प्रजाति पाइन्छन्। नेपालमा पाइने गुराँसमध्ये दुई वटा रैथाने हुन्। अरु अन्य मुलुकमा पनि पाइन्छन्। रोडोडेन्ड्रन कोवानियनमको फूल गुलाबी रङको हुन्छ। रासस |
फेवाको सिमसार क्षेत्र पुर्ने काम रोक्ने निर्णय पाेखरा। पोखरा महानगरपालिका र अन्नपूर्ण गाउँपालिका क्षेत्रमा पर्ने फेवाताल जलाधार सिमसार क्षेत्रभित्र हुँदै गरेको जमिन पुर्ने तथा खार्ने काम रोक्ने निर्णय भएको छ।
जिल्ला समन्वय समिति कास्की प्रमुख एवं कास्कीका भू तथा जलाधार संरक्षण समितिका अध्यक्ष लीलाधार पौडेलको अध्यक्षतामा शुक्रबार पोखरामा बसेको समितिको बैठकले सो निर्णय गरेको हो।
बैठकले सिमसार क्षेत्रमा भइरहेका अवैध उत्खनन् र जमिन पुर्ने काम तत्काल बन्द गर्न पोखरा महानगरपालिकालाई पत्राचार गर्ने र आवश्यक सहयोगका लागि जिल्ला प्रशासन कार्यालयलाई आग्रह गर्ने निर्णय गरेको अध्यक्ष पौडेलले जानकारी दिए।
उनका अनुसार बैठकले एक संयन्त्र निर्माण गरी सो क्षेत्रको नियमित अनुगमन गर्ने निर्णय गरेको छ। फेवा जलाधार र सिमसार क्षेत्रमा अनधिकृतरूपले दोहन भइरहेको भन्ने सूचना आएपछि समितिको बैठक बसेर उक्त निर्णय लिइएको र नियमविपरीत कानुन हातमा लिएर काम गर्ने जो कोहीलाई पनि कारबाही गरिने पौडेलले बताए।
कास्की र गण्डकी प्रदेशकै आर्थिक समृद्धिको मुख्य आकर्षण फेवाताल र सिमसारको अस्तित्वमा सङ्कट ल्याउने कार्य सह्य नहुने र जोसुकै हुन कारबाही गरी छाड्ने उनको भनाइ छ।
बैठकमा आमन्त्रित सदस्यका रूपमा सहभागी पोखरा महानगर पालिकाका प्रमुख धनराज आचार्यले फेवा माथिको दोहन रोक्नका लागि र सो क्षेत्रको संरक्षणमा महानगरको पूर्ण प्रतिबद्धता रहेको बताए। कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले निर्धक्कका साथ काम गर्न समन्वय समितिलाई आग्रह गर्दै प्रशासन सोका लागि पूर्ण सहयोग गर्न तयार रहेको उल्लेख गरे।
यसअघि फेवातालको आसपासको सिमसार क्षेत्र पुर्ने गतिविधि बढिरहेकाले त्यसलाई रोकेर सिमसार जोगाउन वातावरण संरक्षणका लागि महाअभियान कास्कीले रोक्न माग गरेको थियो। रासस |
बिराटनगरमा अनिश्चितकालीन निषेधाज्ञा बिराटनगर। कोशी प्रदेशको राजधानी विराटनगरमा आजदेखि अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरिएको छ।
कोशी नामकरणको विरोधमा ‘पहिचानवादी’बाट हुनसक्ने सम्भाबित आन्दोलनलाई ध्यान दिँदै निषेधाज्ञा जारी गरिएको हो। जसअनुसार शनिबार बिहान ६ बजेबाट अर्को आदेश नभएसम्मका लागि अनिश्चितकालीन निषेधित क्षेत्र घोषणा गरिएको छ।
मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवका अनुसार निषेधित क्षेत्रमा सर्वसाधारण तथा सवारीसाधन आवतजावतबाहेक सभा, जुलुस, भेला, र्याली, धर्नाजस्ता कार्यक्रममा रोक लगाइएको छ।
‘जिल्ला सुरक्षा समिति, मोरङको निर्णयानुसार, मिति २०८०-२-१३ गते बिहान ६ बजेदेखि अर्को आदेश नभएसम्म निम्न स्थानहरूमा सर्वसाधारण तथा सवारी साधन आवतजावत बाहेक कुनै पनि किसिमको सभा, जुलुस, भेला, र्याली जस्ता कार्यहरू गर्न स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ९३ (क) बमोजिम निषेध गरिएकाले सम्बन्धित सबैको जानकारी लागि यो सूचना प्रकाशित गरिएको छ’ जारी सूचनामा भनिएको छ।
जसअनुसार पूर्वमा देवकोटा चोकदेखि पश्चिम कोशी अस्पतालसम्म, मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय रोडशेष चोकदेखि दक्षिण जतुवा चोकसम्म, मुख्यमन्त्री निवास वरपरको ३०० मिटरसम्म र जिल्ला प्रशासन कार्यालय मोरङको डाँफे चोकदेखि पूर्वको क्षेत्रसम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको हो। |
null |
हज यात्रा–२०२३ का लागि एक हजार ९२ जना छनोट काठमाडौं । सन् २०२३ को हज यात्राको तयारी अन्तिम चरणमा पुगेको नेपाल हज समितिले जनाएको छ ।
हालै नयाँ जिम्मेवारी पाएका समितिका अध्यक्ष मकबुल मिया (शाह)को नेतृत्वमार्फत हज यात्राको व्यवस्थापनको जिम्मेवारी नेपाल हज समितिले लिएको छ ।
उनका अनुसार सन् २०२३ को हज यात्राका लागि एक हजार ९२ जना छनोटमा परेका छन् । हज यात्री नेपालबाट यही जेठ १६, १७, १८, २०, २१ र २२ गतेको उडानमार्फत त्यसतर्फ जाने समितिले जानकारी गराएको छ ।
गृह मन्त्रालय र साउदीको हजा तथा उमरा मन्त्रालयको आग्रहमा शाह नेतृत्वको समितिले हज यात्रा व्यवस्थापनको जिम्मेवारी लिएको छ ।
सन् २०२२ मा नेपालदेखि हज गर्न जाने हज यात्रीहरूको व्यवस्थापन गृह मन्त्रालयअन्तरगत रहेको हज समितिले गरिरहेको छ ।
साउदी सरकारले आफ्नो ठूलो बजेट हज तथा उमरा मन्त्रालय मातहत रहेर खर्च गरिरहेको छ । यस वर्ष पनि नेपाल हज समितिले नेपालबाट साउदी अरबस्थित मक्का (पवित्र तीर्थस्थल)मा हज (तीर्थ) गर्न जाने नेपाली मुस्लिम धर्मावलम्बीको हज यात्राको समग्र व्यवस्थापन गर्नेछ । समितिले नेपाल हज समिति कार्यविधि–२०७२ अनुसार गर्नेछ ।
साउदी अरेबियाको सरकारले हजको व्यवस्थापनमा सरसफाइ, सुरक्षा र खानपिन र पिउने पानीको सुविधा उपलब्ध गराउँछ । सन् २०२२ को हजमा नेपालीलाई विदेशमा खाना, खाजा, बास तथा तीर्थ गराउने कार्यमा उत्कृष्ट व्यवस्थापन गरिएको थियो । |
‘यातायातमा भएको अनियमितताको छानबिन हुन्छ’ भक्तपुर । यातायात व्यवस्था कार्यालय भक्तपुरमा भएको अनियमितताका बारेमा छानबिन गरी कारबाही प्रक्रिया अगाडि बढाइने भएको छ । कार्यालयको आफ्नै लिखित परीक्षा हल हुँदाहुँदै प्रलोभनमा परेर निजी क्षेत्रलाई परीक्षा सञ्चालन गर्ने जिम्मेवारी दिएकोबारेमा विवाद बढेपछि प्रदेश सरकारले यसबारेमा थप अनुसन्धान गरी कारबाही प्रक्रिया अगाडि बढाउने भएको हो ।
नयाँ सवारी चालक अनुमतिपत्रका सम्पूर्ण कार्यका साथै लिखित परीक्षा सञ्चालन, प्रयोगात्मक अर्थात् ट्रायल परीक्षा सञ्चालन, नवीकरणलगायत कार्य गर्दै आएको यातायात व्यवस्था कार्यालय भक्तपुरले प्रदेश मन्त्रालयलाई पत्तै नदिई नियम विपरित निजी क्षेत्रलाई परीक्षाको अनुमति दिएपछि कार्यालय प्रमुख शिवकुमार निरौला विवादमा तानिएका हुन् ।
कार्यालयका कर्मचारीले पत्तो नपाउने गरी हिमालय टाइम्समा टेण्डर आह्वान गर्दै निःशुल्क परीक्षा सञ्चालन गर्ने भन्दै कार्यालय प्रमुखले मध्यपुरथिमि–९ राधेराधेस्थित बुढाथोकी ट्रेडर्स एण्ड ट्रेनिङ्ग स्कुल प्रालिलाई सवारी चालक अनुमतिपत्रको लिखित परीक्षा सञ्चालनको अनुमति दिएपछि यो निर्णय र सम्झौता विवादमा परेको हो ।
बागमती प्रदेश सरकार श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिव अस्मान तामाङले लिखित परीक्षा निजी क्षेत्रलाई दिएर कार्यालय प्रमुखले अनियमितता र बेइमानी गरेको बताउँदै यसबारेमा मन्त्रालयले छानबिन गरी कारबाही गर्ने बताए ।
उनले भने, “निजी क्षेत्रमा लिखित परीक्षा सञ्चालन गर्ने जिम्मेवारी दिनु कार्यालय प्रमुखले गलत गरेको प्रष्ट भएको छ, हामी तत्काल कोटा दिँदैनाँै र यसबारेमा छानबिन गरेर कारबाही प्रक्रिया अगाडि बढाउछौँ र लिखित परीक्षा कार्यालयमै सञ्चालन गर्ने गरी फकाउँछौँ ।” उनले लिखित परीक्षा सञ्चालन कार्यालयमै फर्काउने र सेवाग्राहीलाई सहज व्यवस्थापन गर्ने गरी मन्त्रालय अगाडि बढेको बताए ।
भक्तपुरमा कार्यालय सञ्चालन भएको लामो समयसम्म पनि निजी क्षेत्रलाई परीक्षा सञ्चालनको जिम्मेवारी नदिई कार्यालयले आफ्नै हलमा परीक्षा सञ्चालन गर्दै आए पनि अहिलेका कार्यालय प्रमुख निरौलाले भने कार्यविधिको बाहना बनाएर यही जेठ ८ गतेदेखि दुई पाङ्ग्रे र चारपाङ्ग्रे हल्का सवारीसाधनको लिखित परीक्षाको जिम्मेवारी निजी क्षेत्रलाई दिएको हो । |
एक हप्ताभित्र वीर अस्पतालको सेवा सुधार गर्न स्वास्थ्यमन्त्रीको निर्देशन काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले एक हप्ताभित्र बिरामीले महसुस हुने गरी र सुधार भएको देखिने गरी वीर अस्पतालको सेवा सुविधा सुधार गर्न नेतृत्वलाई निर्देशन दिएका छन् ।
आज वीर अस्पतालको आकस्मिक निरीक्षणपछि मन्त्री बस्नेतले अनलाइन टिकटको व्यवस्था, अस्पतालको सरसफाइ, शैय्याबारे वेबसाइटमार्फत जानकारी र सघन उपचार कक्षमा शैय्या थप्दै सेवा सहजरूपमा प्रवाह गर्न अस्पताललाई निर्देशन दिएका हुन्
उनले भने, “वीर अस्पताल देशकै उत्कृष्ट अस्पतालको रूपमा चिनिनुपर्छ । एक हप्ताभित्र अनलाइन टिकट, फोहोर व्यवस्थापन, इमरजेन्सी र डाइलासिसमा शैय्या थपेर सेवा सुधार गर्नुहोस् । ”
मन्त्री बस्नेतले वीर अस्पतालमा सञ्चालनको तयारीमा रहेको नौ शैय्याको सघन उपचार कक्ष एक हप्ताभित्रै सञ्चालनमा ल्याउन अस्पताललाई निर्देशन दिए ।
उनले वीर अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीलाई कार्यालय अवधिभर नबसे कारवाही गर्न चेतावनीसमेत दिए । “सुरुमा हामी चिकित्सकलाई कार्यालय समयमा निजी अस्पताल क्लिनिकमा नगइदिन अनुरोध गर्दछाँै । तर हाम्रो अनुरोधलाई कमजोरी ठाने कारवाही गरिने छ”, उनले भने ।
मन्त्री बस्नेतलाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का निमित्त उपकुलपति प्राडा भुपेन्द्र बस्नेत र वीर अस्पतालका निर्देशक डा सन्तोष पौडेलले वीर अस्पतालले प्रदान गरिरहेका सेवा र सुविधाका विषयमा जानकारी दिएका थिए ।
न्याम्सका निमित्त उपकुलपति प्राडा बस्नेतले स्वास्थ्यमन्त्री बस्नेतको निर्देशनअनुसार एक सातामा अस्पतालको सेवामा सुधार ल्याउने प्रतिबद्धता व्यक्त गरे ।
विश्व स्वास्थ्य सङ्गठनको महासभामा भाग लिएर आजै बिहान काठमाडौँ आइपुगेका मन्त्री बस्नेतले वीर अस्पतालको अनुगमन गरेका हुन् । निरीक्षण टोलीमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेल, देवकुमारी गुरागाईं, अतिरिक्त सचिव डा सङ्गीता मिश्र र मन्त्रालयका अधिकारी थिए । रासस |
null |
सेनालाई हतियार खरिद गर्नुपर्ने आवश्यकता नै छैन : प्रधानसेनापति काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनालाई शान्ति मिसनका लागि हतियार खरिद गर्नुपर्ने आवश्यकता नै नरहेको बताएका छन् ।
अन्तर्राष्ट्रिय संयुक्त राष्ट्रसङ्घीय शान्ति सैनिक दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा पत्रकारसँग कुराकानी गर्दै उनले सङ्गठनलाई चाहिने आवश्यक हातहतियार पर्याप्त मौज्दात रहेकाले अहिले हातहतियार किन्नुपर्ने आवश्यकता नै नरहेको स्पष्ट पारेका छन् ।
प्रधानसेनापति शर्माले भने, “युएन मिसनका लागि हतियार नभएर विभिन्न भेहिकलका पार्टस् आवश्यकताका आधारमा सम्बन्धित देश वा नजिकको बजारबाट सुलभ मूल्यमा खरिद गरिनु स्वभाविक भएकाले बजारको अध्ययनका कुरा हुनसक्ने भए पनि हतियार भने खरिद गर्नुपर्ने आवश्यकता छैन ।”
मित्रराष्ट्र चीनसँग विसं २०४५ यता कुनै हतियार खरिद नगरिएको स्पष्ट गर्दै उनले जुनसुकै देशबाट हतियार खरिद गर्नुपरेको खण्डमा सरकारको स्वीकृति लिएर ऐन, नीति, नियमको परिधिभित्र रहेरमात्र प्रक्रिया अघि बढाउन सकिने उनको भनाइ छ । केही सञ्चारमाध्यमले सेनाले हतियार खरिद गर्दैछ भन्ने समाचार सम्प्रेषण गरिरहेका सन्दर्भमा उनले कुनै पनि देशबाट हतियार खरिदका लागि हालसम्म प्रतितपत्र (एलसी) नखोलिएको पनि स्पष्ट पारे ।
कुन देशमा शान्ति मिसन खडा भएको हो त्यो मुलुकको माटो सुहाउँदो सवारीसाधन खरिद गरिँदै आएको बताउँदै प्रधानसेनापति शर्माले सत्यतथ्यभन्दा बाहिर गएर कुनै देश वा कम्पनीले आफ्नो स्वार्थ पूरा गर्ने उद्देश्यलाई बल पुग्ने ढङ्गले समाचार सम्प्रेषण नगर्न सुझाव दिए ।
उनले हुँदै नभएको हतियार खरिदसम्बन्धी विषयमा मुलुकका सरकारका मन्त्री र पूर्वपदाधिकारीको नाम जोडेर अफवाह फैलाउने गरी समाचार सम्प्रेषण नगर्न ध्यानाकर्षण गराउँदै शान्ति मिसनमा प्रयोग भएका सवारीसाधनका लागि आवश्यक पार्टपूर्जा भने विश्वका जुनसुकै देशबाट खरिद गर्न सकिने धारणा राखे । |
मर्चवारीमा खुल्यो आँखा उपचार केन्द्र भैरहवा। रुपन्देहीको मर्चवारमा आँखा उपचार केन्द्रको शाखा स्थापना गरिएको छ । आँखाको कुनै पनि समस्या भए भैरहवा आउनुपर्ने बाध्यताको अन्त्यका लागि स्थानीयस्तरमा आँखासम्बन्धी सेवा प्रदान गर्न मर्चवारी–२ अमवामा आखा उपचार केन्द्रबाट सेवा सुरु गरिएको हो ।
नेपाल नेत्रज्योति संघ लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर र मर्चवारी गाँउपालिकाको सहकार्यमा आँखा उपचार केन्द्र स्थापना गरिएको हो।
लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ता, नेत्र ज्याति संघ रुपन्देहीका सभापति सागर प्रताप राणा र मर्चवारी गाँउपालिका अध्यक्ष गया प्रसाद बरईले संयुक्त रूपमा आँखा अस्पतालको उद्घाटन गरेका हुन ।
|
मन्दिरकाे सामान चाेरी गरेको आराेपमा २८ वर्षीय युवक पक्राउ सिरहा। बरियारपट्टी गाउँपालिका-३ नवटोलीस्थित राजदेवी मन्दिरबाट धनमाल चोरी गरेको अभियोगमा सप्तरी खड्क नगरपालिका-१ बस्ने २८ वर्षीय प्रकाश मण्डललाई प्रहरीले पक्राउ गरेको छ।
उक्त मन्दिरभित्र रहेको राजदेवी माताको मूर्तिमा लगाएका सुन तथा चाँदीको गरगहना चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरीले उनलाई सुन तथा चाँदीको विभिन्न चोरीका सामान र उनले प्रयोग गरेको बा.२६ प ७३४९ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको हो।
|
खुकुरी प्रहारबाट युवतीको हत्या संखुवासभा। संखुवासभामा एक युवतीको खुकुरी प्रहारबाट हत्या गरिएको छ।
खाँदबारी नगरपालिका-१ मा शुक्रबार २१ वर्षीया युना दर्नालको खुकुरी प्रहारबाट हत्या भएको प्रहरीले जनाएको छ। उनको सभापोखरी गाउँपालिका–१ कै २३ वर्षीय नन्दराम गदालले दर्नालको हत्या गरेको प्रहरीको भनाइ छ।
युनाको हत्या गरेपछि आफ्नै पेटमा खुकुरी प्रहार गरेर आत्महत्याको प्रयास गरेका नन्दरामको जिल्ला अस्पताल खाँदबारीमा उपचार भइरहेको छ। |
वर्षासँगै आएको हावाहुरीले खोटाङका विद्यालयमा क्षति, पठनपाठन प्रभावित खोटाङ । वर्षासँगै आएको हावाहुरीले खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेस्थित महेन्द्रतारा आधारभूत विद्यालयको छाना उडाएको छ । बिहीबार साँझ परेको भारी वर्षासँगै आएको हावाहुरीले कक्षा ८ सम्म पढाइ हुँदै आएको विद्यालयको दुईवटा भवनको जस्तापाताको छाना पूर्णरूपमा उडाएको हो ।
हावाहुरीले एउटा आइसिटी कक्षा, प्रशासन र पानी फिल्टर गर्ने उपकरण राखिएको भवन तथा अर्को कक्षा ४ र कक्षा ५ पठनपाठन हुँदै आएको भवनको छाना उडाएको प्रधानाध्यापक देवेन्द्र श्रेष्ठले बताए।
“दिनभर विद्यालय सञ्चालन गरिएको थियो । साँझ वर्षासँगै आएको हावाहुरीले छाना उडाएपछि आइसिटी कक्षाको कम्प्युटर, डेस्क, बेञ्चलगायतका सामान भिजेको छ”, उनले भने, “हावाहुरीले विद्यालयको जस्तापाताको छाना उडाएर पाखामा पुर्याउँदा ठूलो क्षति भएको छ । हावाहुरीको क्षतिका कारण तत्काल पठनपाठन सञ्चालन गर्न सकिने अवस्था छैन ।”
विसं २०२३ जेठ २ गते स्थापना भएको सो विद्यालयमा गत वर्षको वैशाख ६ गते आएको हावाहुरीले पनि क्षति पुर्याएको थियो । बिहीबारको हावाहुरीले पुर्याएको क्षतिको विवरण सङ्कलन तथा विद्यालय सञ्चालनका लागि उपाय खोज्न गाउँपालिकाको कार्यालय र प्रहरी चौकी बतासेको टोली घटनास्थलमा बोलाइएको प्रधानाध्यापक श्रेष्ठले जानकारी दिए।
हावाहुरीले बिम तथा गारोसहित छाना उडाएपछि एक सय ५० विद्यार्थी अध्ययनरत सो विद्यालयको पठनपाठन अन्योलमा छ । हावाहुरीले क्षति पुर्याएको भवनमा केही दिनभित्रै छाना हालेर नियमित पठनपाठन सञ्चालन गर्ने तयारी गरिएको गाउँपालिका प्रमुख लोकेन्द्रबहादुर राईले बताए ।
बर्सेनि हावाहुरीले क्षति गर्दै आएको सो विद्यालयमा अधिकांश पुरानो संरचनाका भवन रहेकाले कुनै बेला मानवीय क्षतिसमेत हुनसक्ने सम्भावना रहेको अभिभावकले बताएका छन् । बाह्रै महिना हावाहुरी चलिरहने डाँडामा सञ्चालित विद्यालय नजिकै ठूलो पिपलको रुखसमेत रहेकाले दुर्घटनाको जोखिम बढेको जनाइएको छ ।
दश स्थानीय तह रहेको जिल्लामा गए राति चलेको हावाहुरीले अन्य ठाउँमा समेत क्षति गरेको स्थानीय बासिन्दाले बताएका छन् । जिल्लामा भएको हावाहुरीको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । हावाहुरीले फलफूल, पाक्न लागेको गहुँ, तरकारी बालीलगायतमा क्षति गरेको किसानले बताएका छन् । व्यावसायिक तरकारी खेती गर्ने किसानको टनेललगायतका संरचनामा समेत क्षति गरेको छ। रासस |
घट्यो सार्वजनिक यातायातको भाडा काठमाडौँ। काठमाडौँ उपत्यकासहित बागमती प्रदेशमा चल्ने सार्वजनिक यातयातको भाडा घटेको छ। बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले भाडा घटाएको हो।
नेपाल आयल निगमले डिजेलको भाउ घटाएको नौ दिनपछि बागमती प्रदेशमा छोटो दूरीमा चल्ने गाडीको भाडा घटाइएको हो। मन्त्रालयले घटाएको भाडादर राजपत्रमा प्रकाशित भएको जनाइएको छ।
काठमाडौँ उपत्यकाभित्र ५.९ प्रतिशत, उपत्यका बाहिर छोटो दूरीका सार्वजनिक सवारीमा ४.१८ प्रतिशत र मालवाहक सवारीसाधनमा ५.६९ प्रतिशतले भाडा घटाएको मन्त्रालयका सचिव अस्मान तामाङले बताए। उनले भने, “नयाँ भाडादर राजपत्रमा प्रकाशित भइसकेकाले आजदेखि नै घटेको भाडादर लागू हुने छ।”
यसअघि डिजेलको भाउ बढेको बेला लामो दूरीको गाडी भाडा बढेर छोटो दूरीको नबढेपछि व्यवसायी आफैँले भाडादर तोकेका थिए। नेपाल आयल निगमले अघिल्लो हप्ता बुधबारदेखि लागू हुने गरी डिजेलको भाउ घटाएको थियो।
लगत्तै सरकारले लामो दूरीको भाडा समायोजना गरेको थियो। लामो दूरी अर्थात् अन्तर प्रदेशको भाडा केन्द्र सरकारबाट र छोटो दूरी अर्थात् अन्तरपालिकाको भाडा प्रदेश सरकारबाट निर्धारण हुने गर्दछ।
गत चैत २० गते डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर रु १०-१० र पेट्रोलमा रु तीन मूल्य घटाएको निगमले अघिल्लो हप्ता बुधबारदेखि लागू हुने गरी डिजेल र मट्टितेलमा प्रतिलिटर रु १०-१० ले भाउ घटाएको थियो।
घटेको मूल्यअनुसार हाल डिजेलको मूल्य लिटरको रु एक सय ५५ कायम भएको छ। अघिल्लो वर्ष प्रदेशभित्र सञ्चालन हुने छोटो दूरीको भाडा बढेको थियो। बढेको भाडाअनुसार यात्रुले काठमाडौँ उपत्यकामा सार्वजनिक गाडीमा चढ्ने बित्तिकै रु २० तिर्दै आएका छन्। – रासस |
जंगली च्याउँ खाँदा तनहुँमा तीन जना बिरामी तनहुँ। जंगली च्याउ खाँदा तनहुँमा एकै घरका तीन जना बिरामी परेका छन्। बिहीबार बिहान घर नजिकैको जङ्गलबाट ल्याइएको च्याउ पकाएर खाएपछि व्यास नगरपालिका–५ चिन्तुटारका एकै परिवारका तीनजना बिरामी परेका हुन्।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक तथा प्रबक्ता मोहनबहादुर खाँडका अनुसार शुकबहादुर गुरुङ, उनकी श्रीमती ६० बर्षिया मीनमाया तामाङ गुरुङ र ३२ बर्षिया छोरा थमन गुरुङ बिरामी भएका हुन्।
उनका अनुसार बिरामी भएपछि तीन जनाको दमौली स्थित दमौली अस्पतालमा उपचार गरिएको थियो। तर, शुकबहादुरलाई थप उपचारको लागि स्वास्थ्य विज्ञान प्रतिष्ठान गण्डकी अस्पताल पोखरामा रेफर गरिएको छ भने बाँकी दुई जनाको दमौली अस्पतालमा उपचार भइरहेको छ। |
अन्नपूर्ण पदमार्गमा मनोरम झरनाको आकर्षण बेनी। अग्ला पहाडबाट खस्ने झरना। झरनाको फेदीमा बनेका सफा तलाउ। वरिपरि वनजंगल। पदयात्राबाट देखिने सुन्दर झरनाका मनमोहक दृश्यले यात्राका थकान मेटाइदिने गर्छ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित नर्थ अन्नपूर्ण हिमालको आधार शिविर पुग्ने पदमार्गमा रहेका आधा दर्जन बढी यस्तै मनमोहक झरनाको दृश्यले पर्यटकलाई लोभ्याउने गरेको छ।
हिमालका प्रथम आरोही फ्रान्सका मौरिस हर्जोगले हिमाल आरोहण गर्दा प्रयोग गरेकै पदमार्गलाई समेटेर तयार भएको ‘मौरिज हर्जोग पदमार्ग’ मा पर्ने फुतफुते झरना, पञ्च झरना र रातो झरनालगायतका आधा दर्जन बढी मनमोहक झरना छन्।
पदमार्गमा सबैभन्दा आकर्षणका रूपमा पहाडबाट निस्कने फुतफुते झरनाले पर्यटकलाई आकर्षित गर्ने गरेको छ। कडा चट्टानलाई बीचमा पानीको बहावले काटेर झर्ने झरनाको पानीको दृश्यले यात्रालाई रोमाञ्चक बनाएको पहिलोपटक झरनाको अवलोकनका लागि पुग्नुभएका आन्तरिक पर्यटक प्रदीप पुनले बताए।
“सबै झरना पहाडबाटै बग्ने हुन्, तर यो झरनाले पहाडलाई छेडेर निस्किएजस्तो देखिन्छ, झरनाबाट बग्ने निलो रङको पानीले झरनालाई नियालेर धित नै नमर्ने रहेछ”, पुनले भने।
नीलगिरि र अन्नपूर्ण हिमालबाट बग्ने मिस्त्रीखोलाको पानी यसै झरना भएर बग्ने गर्छ। झरना र फेदीमा रहेको पानीको तलाउमा यस क्षेत्रमा जाने अधिकांश पर्यटकले तस्बिर र भिडियो खिचेर रमाउने गर्छन्।
घना जंगल र पहाडको उकालो बाटो हुँदै गरिने पदयात्राका दुःख र थकानलाई झरनाको मनमोहक दृश्यले भुलाइदिने गरेको अर्का पर्यटक बालकृष्ण पौडेलले बताए।
यस झरनाकै अगाडि अन्नपूर्ण हिमशृङ्खलाबाट बग्ने अर्को आकर्षक झरना रहेको छ। अन्नपूर्ण पदमार्गअन्तर्गत गुफा फाँटमा अन्नपूर्ण हिमशृङ्खलाबाटै बग्ने पञ्च झरना पर्यटकका लागि अर्को आकर्षणका रूपमा रहेको छ।
अग्लो पहाडबाट एकपछि अर्को गर्दै लहरै रहेका पाँचवटा झरनाको अवलोकन गर्न पाउँदा पर्यटक खुसी भएर आवतजावत गर्ने गरेको स्थानीय पर्यटन व्यवसायी तेज गुरुङले बताए।
पदमार्गअन्तर्गत भुसकेटमेला नजिकै रहेको रातो झरना पनि पर्यटकको अर्को आकर्षणका रूपमा रहेको छ। अन्नपूर्ण पदयात्रामा जाने पर्यटकका लागि अन्नपूर्ण हिमशृङ्खलाको अवलोकनसँगै मनमोहक झरनाको दृश्यावलोकन गर्न पाउनु प्रमुख आकर्षण रहेको छ।
झरनाको परिसरमा पर्यटन पूर्वाधार निर्माण गरी प्रवर्द्धनमा आवश्यक तयारी गरिएको अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिए। उनका अनुसार, फुतफुते झरना वारपारका लागि अहिले रहेको झोलुंगे पुललाई मर्मत गर्न आवश्यक बजेट व्यवस्थापन भएको र रातो झरना वारपारका लागि पुल निर्माण गर्न योजना तर्जुमा गरिने उनले जानकारी दिए।
अन्नपूर्ण गाउँपालिका-४ नारच्याङ हुँदै अन्नपूर्ण आधार शिविर जाने पदमार्गमा सडक सञ्जालको पहुँच विस्तार र पदमार्गलगायतका पूर्वाधार निर्माण भएपछि पर्यटकको आगमन बढेको छ।
नारच्याङबाट हुमखोलासम्मको २० किलोमिटर दूरीमा सवारीसाधन र त्यहाँबाट २२ किलोमिटर पैदलयात्रा गरेर आधार शिविर पुग्न सकिने भएपछि अन्नपूर्ण आधार शिविर एक दिनको यात्रामा छोटिएको छ। रासस |
बुर्तिबाङ बजारको फोहर व्यवस्थापनमा समस्या ढोरपाटन। पश्चिम बागलुङको व्यापारिक केन्द्र बुर्तिबाङमा तीव्रगतिमा बजार विस्तार भइरहेको छ। बजारमा जनघनत्व बढ्दो छ।
गाउँबाट बसाइँसराइ गरेर यहाँ आउनेको सङ्ख्या दैनिक बढ्दै गएको छ। वर्षौँ अगाडि निर्माण भएका पूर्वाधारले अहिले थेग्न सक्ने अवस्था छैन। बजारको फोहर व्यवस्थितरूपमा व्यवस्थापन हुनसकेको छैन।
ढोरपाटन नगरपालिकाको केन्द्रसमेत रहेको बुर्तिबाङ बजारको फोहर अहिले वडा नं ३ स्थित बाघखोरमा फाल्ने गरिएको छ। ढोरपाटनले छ वर्षदेखि बाघखोरमा फोहर व्यवस्थापन गर्दै आएको छ।
त्यसअघि भूजीखोलामा फोहर व्यवस्थापन गर्ने गरिएको थियो। अहिले बाघखोरमा व्यवस्थापन गरिएको फोहर खोलामा बग्ने गरेको छ। अव्यवस्थितरूपमा व्यवस्थापन गरेको फोहर हावाले उडाएर र पानी पर्दा बगाएर खोलामै पुग्छ।
फोहरले तमानखोला र भूजीखोला दूषित बनेका छन्। यी दुवै खोला बडिगाडखोलामा मिसिन्छन्। फोहरबाट जलचर प्राणीलाईसमेत असर पुगेको छ। अहिले फोहर व्यवस्थापन गर्दैगरेको ठाउँ नगरपालिकाको वडा नं ३ र ४ को विभिन्न गाउँ तथा तमानखोला पुग्ने सडक छेउमै पर्छ। सडक छेउमा रहेको ‘डम्पिङसाइट’का कारण यात्रुलाई समस्या भएको छ।
बुर्तिबाङ-बोङ्गादोभान सडकमा दैनिक सयौँ यात्रु ओहोरदोहोर गर्छन्। पैदलयात्रुलाई फोहरको दुर्गन्धले समस्या भएको छ। बुर्तिबाङबजारको फोहर नगरपालिकाले दैनिक यही ल्याएर फ्याँक्छ।
कुहिने तथा नकुहिने सबै फोहर एकै ठाउँ फाल्ने गरिएको छ। साँघुरो ठाउँ हुँदा फोहर व्यवस्थापन गर्न समस्या भएको ढोरपाटनका उपप्रमुख धनबहादुर कायतले बताए। फोहर व्यवस्थापनका लागि जग्गा खोज्ने अवस्था रहेको उनको भनाइ छ।
“बुर्तिबाङ बजार निकै साँघुरो र वरपर पर्याप्त जग्गा नहुँदा पुरानै ठाउँमा फोहर व्यवस्थापनको विकल्प छैन, जग्गा खोजी गरिरहेका छौँ, हालसम्म पाएका छैनौँ”, उनले भने।
सडक छेउमा थुप्रिएको गन्धले यात्रा गर्न समस्या भएको तमानखोलाका वीरबहादुर सिर्पालीले बताए। वरपरको क्षेत्र दुगन्धित बनिरहेको उनको भनाइ छ। सिर्पाली भन्छन्, “फोहर तमानखोलाको किनारमा थुपारिएको छ, ठूलो पानी पर्यो भने सबै फोहर खोलामा जान्छ, हावाहुरीले उडाएर वातावरण नै दूषित बनाएको छ।” रासस |
कर असुलीका लागि संयन्त्र बनाएर अनुगमन गर्दै कामपा काठमाडौँ । काठमाडौँ महानगरापालिकाले आफ्नो क्षेत्रभित्र रहेका सम्पत्ति कर र बहाल कर बुझाएरनबुझाएको, व्यवसाय दर्ता र नवीकरण भएरनभएबारे बुझ्न अनुगमन गर्ने भएको छ ।
त्यसका लागि वडास्तरीय राजस्व अनुगमनका संयन्त्र बनाएर अघि बढ्नका लागि कामपा राजस्व विभागले ३२ वटै वडा कार्यलयलाई पत्राचार गरेको छ । अनुगमनका क्रममा अनलाइन राजस्व दाखिला प्रणालीबाट कर दाखिला गर्न प्रोत्साहन गर्न, प्रणाली सञ्चालनका विषयमा जानकारी गराउन पनि अनुरोध गरिएको कामपा राजस्व विभाग प्रमुख धुव्र काफ्लेले जानकारी दिए ।
जनप्रतिनिधि र कर्मचारी परिचालन हुने अनुगमनका लागि यही जेठ १ गते बसेको कार्यपालिका बैठकको निर्णय गरेको थियो । तोकिएको दिनमा सम्बन्धित करदाताहरुको स्थलमा पुगेर सम्पत्ति कर, बहाल कर र व्यवसाय दर्ता नवीकरणको फारम भरिनेछ । यस क्रममा आवश्यक कागजातहरुको प्रतिलिपिसमेत लिइनेछ । यसरी भरिएका विवरण फारामहरु हरेक दिन वडा कार्यालयमा बुझाइनेछ । वडा कार्यालयमा प्राप्त भएका फारामहरु कम्प्युटरमा इन्ट्री गराएर प्रमाणपत्र तथा कर चुक्ता जारी गरिनेछ । यसबापत तिर्नुपर्ने कर तथा राजस्व सम्बन्धित करदाताहरुलाई अनलाइन प्रणालीबाट तिर्न लगाइनेछ ।
अनलाइन प्रणालीबाट राजस्व भुक्तानी नगर्ने करदाताहरुलाई कर बुझाउन र प्रमाणपत्र तथा कर चुक्ता बुझ्न वडा कार्यालयमा नै बोलाइनेछ । कामपा क्षेत्रभित्र भएका बहाल कर तिर्नुपर्ने करदातालाई अनुरोध गर्दै राजस्व विभागले संवैधानिक तथा कानुनी व्यवस्थाअनुसार बहाल रकमका क्षेत्रमा लाग्ने बहाल कर स्थानीय तहको मात्र अधिकारमा रहेको भन्दै सोहीअनुसार बुझाउन आग्रह गरिएको छ ।
राज्यको मूल कानुन संविधान, सङ्घीय कानुन (स्थानीय सरकार सञ्चालन ऐन, २०७४) मा स्थानीय तहले बहाल कर लिने विषयमा कतै व्यक्ति तथा संस्था भनी छुट्याएको छैन । नेपालको संविधान, २०७२, स्थानीय सरकार सञ्चालन ऐन, २०७४, कामपाको राजस्व ऐन, २०७५ र बहाल व्यवस्था निर्देशिका २०७९ बमोजिम उल्लेख गरिएको प्रमुख काफ्लेले बताए ।
संस्थागत बहाल कर नेपाल सरकारका निकायले सङ्कलन गरिरहेको सन्दर्भ उल्लेख गर्दै, ‘नेपालको संविधान २०७२ को धारा, ५७ (४) र अनुसूची ८ मा घरबहाल कर सङ्कलन गर्ने व्यवस्था स्थानीय तहको एकल अधिकारमा रहेको काफ्लेले स्पष्ट पारे । संविधानको धारा, ६० मा स्थानीय तहले आफ्नो आर्थिक अधिकार क्षेत्रभित्रको विषयमा कर लगाउन र उठाउन सक्ने व्यवस्था छ । |
सत्र वर्षदेखि वन कार्यालयमै थन्कियो २० मेट्रिकटन रक्तचन्दन झापा । सत्र वर्षअघि झापाको विभिन्न स्थानमा तस्करबाट बरामद गरिएको २० मेट्रिकटन बहुमूल्य रक्तचन्दन (काठ) जिल्ला वन कार्यालयको दुईवटा कोठामा थन्किएको छ ।
त्यसबेला पक्राउ परेका छ जना अभियुक्त अदालतको आदेशबमोजिम कैद भुक्तान गरी जेलबाट मुक्त भइसकेका छन् । कोठामा थन्काइएको रक्तचन्दन भने अहिलेसम्म पहरा दिएर बन्द कोठामा राख्नु परिरहेको छ । जिल्ला वन कार्यालय झापाका प्रमुख मेघराज राईका अनुसार कार्यालयको भुइँतलाको साविक मुद्दा र प्रशासन फाँट रहेको कोठामा सिलबन्दी गरी ताल्चा लगाएर रक्तचन्दन थुपारिएको छ । कोठाबाहिर दुई वन रक्षकले अहोरात्र सुरक्षा दिइरहेका छन् ।
ओसारपसार र बिक्रीमा विश्वव्यापी प्रतिबन्ध भएका कारण रक्तचन्दनलाई लिलाम (बिक्री) गर्न मिल्दैन । अन्तर्राष्ट्रिय सन्धिबमोजिम रक्तचन्दन जुन मुलुकबाट आएको हो, उसैलाई फिर्ता पठाउनुपर्ने हुन्छ ।
“वन विभागबाट यहाँ राखिएको रक्तचन्दनलाई के गर्ने भन्ने कुनै निर्देशन आएको छैन”, जिल्ला वन कर्यालय झापाका प्रमुख राईले भने, “हामीले यसलाई लिलाम बिक्री गर्ने, नष्ट गर्ने वा फिर्ता पठाउने आफूखुसी निर्णय गर्न सक्दैनौँ ।”
भारतबाट आउँथ्यो रक्तचन्दन
विश्व बजारमा उच्च मूल्य भएको रक्तचन्दन दक्षिण भारतको जङ्गलबाट तस्करी भएर नेपाल आएको हो । तस्करले अवैधरूपमा नेपालको बाटो भएर रक्तचन्दनलाई चीन पु¥याउने गर्दथे ।
यही क्रममा विसं २०६४ साउन १३ गते राति ११ बजे जिल्ला वन कार्यालय झापाको टोलीले दक्षिण झापाको तत्कालीन टाघनडुब्बा गाउँ विकास समितिको वडा नं ४ स्थित उपेन्द्र चौधरीको घरमा छापा मार्दा ११ हजार सात सय ७० केजी रक्तचन्दन लुकाइराखेको अवस्थामा बरामद गरेको थियो ।
त्यसपछि विसं २०६३ पुस २ गते दक्षिण झापाकै कुमरखोदको कामाटोलीमा सुरक्षा गस्तीले घेरेपछि ट्रक चालकले रक्तचन्दन सडकमै छाडेका थिए । त्यस घटनामा छ हजार तीन सय ७५ केजी रक्तचन्दन बरामद भएको थियो । विसं २०६४ साउन १२ गते थप एक हजार छ सय ८७ केजी रक्तचन्दन बरामद भएको थियो ।
रक्तचन्दन बरामद हुँदा पक्राउ परेका छ जना आरोपी सबै छुटिसकेका छन् । रक्तचन्दन बरामद भएको एउटा वटा ट्रक लिलाम भइसकेको छ । सिद्राले छोपेर रक्तचन्दन ल्याइएको थियो । भारतको चेन्नाईबाट आन्ध्रप्रदेश, उडिसा हँुदै विहारको किसनगञ्ज जिल्लाको डिगलबैंक नाकाबाट लुकीछिपी आएको एपी २७ डब्लूओ ४०५ नम्बरको ट्रकबाट रक्तचन्दन बरामद थियो ।
कामाटोलीमा सुरक्षाकर्मी र स्थानीयवासीले ट्रकलाई सडकमै रोकेका थिए । उक्त ट्रक हेर्दा रक्तचन्दनका काठलाई समुद्री माछाबाट बनाइएका सिद्रा र धानको भुसले छोपिएको पाइएको थियो । रक्तचन्दनको बासना नआओस् भनेर ट्रकमा सिद्राको गन्ध राखिएको थियो । ट्रकबाट भारत चेन्नाई निवासी यम भाष्कर र राजु शर्मासमेत पक्राउ परेका थिए ।
झापा जिल्ला अदालतले वन ऐन, २०४९ को दफा ४९ (घ) को कसुरमा सोही वन ऐन, २०४९ को दफा ५० (१) (घ) ४ बमोजिम पक्राउ परेका चार जनालाई रु एक करोड ८८ लाख ३२ हजार जरिवाना र चार वर्ष कैद सजाय सुनाएको थियो ।
सोही मुद्दामा पक्राउ परेका अन्य दई जनालाई भने जनही रु तीन लाख १८ हजार सात सय ६३ जरिवाना र एक वर्ष कैद सजाय तोकेको थियो । रक्तचन्दन भण्डारण गरिएको कोठाको सिलबन्दी नखोलिएको कारण काठको अवस्था के कस्तो छ यकिनसाथ भन्न सकिने अवस्था छैन । उक्त कोठाभित्र कार्यालयका पुराना विभिन्न मुद्दाका फाइल थुनिएको बताइएको छ ।
बरामद भएको बेला गरिएको मुचुल्कामा रक्तचन्दनको मूल्य प्रतिकेजी रु २५ निर्धारण गरिएको थियो । बजारमा रक्तचन्दनको मूल्य अहिले प्रति केजी रु एक हजारभन्दा बढी नै छ । |
जनसङ्ख्या वृद्धिका हिसाबले चितवन तेस्रो चितवन । विसं २०७८ को जनगणनाअनुसार जनसङ्ख्या वृद्धिका हिसाबले चितवन तेस्रो स्थानमा रहेको छ । पहिलोमा भक्तपुर, दोस्रोमा रुपन्देही र तेस्रोमा चितवन रहेको तथ्याङ्क कार्यालय चितवनले जनाएको हो ।
कार्यालयले आज यहाँ आयोजना गरेको जिल्लास्तरीय नतिजा सार्वजनिक कार्यक्रममा कार्यालयका प्रमुख यज्ञमूर्ति भण्डारीका अनुसार जिल्लामा विसं २०६८ को जनगणनामा जनसङ्ख्या वृद्धिदर दुई दशमलव छ रहेको थियो । विसं २०७८ मा जिल्लामा जनसङ्ख्या वृद्धिदर दुई दशमलव सात प्रतिशत रहेको छ ।
उनका अनुसार विसं २०६८ को जनगणनामा जनघनत्व दुई सय ६१ प्रतिवर्गकिलोमिटर रहेकोमा अहिले बढेर तीन सय २५ पुगेको छ । जिल्लाको जनसङ्ख्या सात लाख १९ हजार आठ सय ५९ रहेको छ । तीमध्ये महिला तीन लाख ६८ हजार ७० र पुरुष तीन लाख ५१ हजार सात सय ८९ रहेको तथ्याङ्कले देखाएको छ । विसं २०६८ मा जिल्लाको जनसङ्ख्या पाँच लाख ७९ हजार नौ सय ८४ थियो । पहिलेको तुलनामा एक लाख ३९ हजार आठ ७५ बढेका छन् ।
परिवारको औसत आकार चार दशमलव एक रहेको भण्डारीले जानकारी दिए । जिल्लामा एक लाख ७९ हजार तीन सय ४५ परिवार बसोबास गर्दै आएको कार्यक्रममा जानकारी दिइयो । जिल्लामा स्थायी ठेगाना भएर धेरैजसो विदेश बसोबास गर्ने ४६ हजार आठ सय ६१ परिवारका ६५ हजार ६४ छन् । तीमध्ये पुरुष ५० हजार छ सय ५५ र महिला १४ हजार चार सय नौ छन् । सोह्र हजार चार सय ९६ अपाङ्गता भएका व्यक्ति रहेको कार्यक्रममा जानकारी दिइयो । तीमध्ये आठ हजार सात सय ६७ पुरुष र सात हजार सात सय २९ महिला रहेका छन् । जिल्लाको साक्षरता दर ८३ दशमलव ६८ प्रतिशत रहेको तथ्याङ्कले देखाएको छ ।
बाह्रौँ राष्ट्रिय जनगणनाअनुसार जिल्लाको सबैभन्दा धेरै जनसङ्ख्या भएको पालिका भरतपुर महानगरपालिका रहेको छ । भरतपुर महानगरमा मात्रै तीन लाख ६९ हजार दुई सय ६८ बसोबास गर्ने गरेको सो अवसरमा जानकारी दिइयो । सबैभन्दा कम इच्छाकामना गाउँपालिकामा २७ हजार छ सय ४३ बसोबास गर्दै आएको तथ्याङ्कमा उल्लेख छ । यस्तै कालिका नगरपालिकामा ५२ हजार एक सय ६४, खैरहनी नगरपालिकामा ६७ हजार तीन सय ८५, माडी नगरपालिकामा ३८ हजार दुई सय ९५, राप्ती नगरपालिकामा ६६ हजार छ सय १७, रत्ननगर नगरपालिकामा ८९ हजार नौ सय पाँच रहेको कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।
जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले राष्ट्रिय जनगणनाको तथ्याङ्कले नीति निर्माणमा सहयोग पुग्ने बताए । यो तथ्याङ्कका आधारमा नीति निर्माण तथा विकास निर्माणमा सहयोगी बन्ने भन्दै उहाँले यस्ता तथ्याङ्कको सही सदुपयोग हुन आवश्यक रहेको बताए ।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले यस्ता तथ्याङ्कलाई अझै विस्तृतरूपमा केलाउन सके समाजको विकासमा सहयोगी बन्ने बताए । |
पदबहाली गरेको एक वर्ष : सरसफाइ विशेष कार्यक्रममा सहभागी हुन प्रमुख साहको आग्रह काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रमुख बालेन्द्र साहले यही जेठ १३ गते शनिबार विशेष सरसफाइ कार्यक्रममा सहभागी हुन सरोकारवाला सबैलाई आग्रह गरेका छन् ।
स्थानीय तह सदस्य निर्वाचन २०७९ बाट निर्वाचित जनप्रतिनिधिले पदबहाली गरेको एक वर्ष पूरा भएको अवसरमा सरसफाइ कार्यक्रम आयोजना गर्न, साझेदारले आयोजना गर्ने कार्यक्रममा सहयोग र समन्वय गर्न प्रमुख साहले ३२ वटै वडाका जनप्रतीनिधिहरुलाई पत्रमार्फत अनुरोध गरेका छन् ।
आगामी १३ गते बिहान ७ देखि १० बजेसम्म आयोजना हुने विशेष सरसफाइ कार्यक्रममा सहभागी हुनका लागि प्रमुख साहले आग्रह गरेका हुन्। विशेष सरसफाइ कार्यक्रममा वडाका सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीसहित वडाका सबै सरोकारवाला समेतलाई अधिकतम सहभागी गराई कार्यक्रम प्रभावकारी रुपमा सम्पन्न गर्नसमेत उनले पत्रमार्फत आग्रह गरेका छन् । सरसफाइ गरिने स्थानको छनोट र आवश्यक सामग्री वडाले उपलब्ध गराउनेछन् । सङ्कलित फोहर उठाउने तथा अन्तिम व्यवस्थापन गर्ने काम वातावरण विभागले फोहर व्यवस्थापनमा काम गर्ने निजी क्षेत्रको सहयोगमा गर्नेछ ।
गत वर्ष २०७९ वैशाख ३० गते शुक्रबार स्थानीय तह सदस्य निर्वाचन सम्पन्न भएको थियो । वैशाख ३१ गते शनिबारदेखि सुरु गरिएको काठमाडौँ महानगरपालिकाको मतगणना जेठ १३ गते शुक्रबार सकिएको थियो । शुक्रबार राति ११ बजे मत परिणाम घोषणा गरिएको थियो । त्यसको भोलिपल्ट अर्थात् जेठ १४ गते शनिबार बिहान ८ बजे मुख्य निर्वाचन अधिकृतको कार्यालयले औपचारिक रुपमा बधाई कार्यक्रम आयोजना गरेको थियो ।
जेठ १६ गते सोमबार कामपाका जनप्रतिनिधिहरुले बिहान १० बजे पद तथा गोपनीयताको शपथग्रहण गरेका थिए । सोही दिन अपराह्न ४ बजे कार्यपालिकाको पहिलो बैठकसमेत बसेको थियो । |
अरुण तेस्रो प्रवेश मार्गको छुट जग्गाको मुआब्जा दर निर्धारण, प्रतिरोपनी ११ लाख ७५ हजार किमाथाङ्का । सङ्खसवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो प्रवेश मार्ग छ्याङकुटी–दिदीङ–पुखुवासडक खण्डको जग्गा छुट मुआब्जको दररेट निर्धारण गरिएको छ ।
अरुण तेस्रो प्रवेश मार्ग छ्याङकुटी–दिदीङ–पुखुवा ९०–२४ किमी० सडक खण्डको जग्गा छुट मुआब्जको दररेट निर्धारण भएको हो । सरकारले जग्गा अधिग्रहण गरेको करिव १४ वर्षपछि स्थानीयवासीले जग्गाको मुआब्जा पाएका हुन् । स्थानीयवासीले लामो समयदेखि मुआब्जाको माग राख्दै आन्दोलन गरेपछि सरकारले मुआब्जा दिन छुट जग्गाको यकिन विवरण र अन्यसम्बन्धी प्रतिवेदन तयार पार्न कार्यदल गठन गरेको थियो ।
विसं २०७५ चैत १ मा सङ्खुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेको संयोजकत्वमा आयोजना प्रवेशमार्ग छ्याङकुटी–दिदिङअन्तर्गत छुट जग्गाको यकिन विवरण र अन्य समस्यासम्बन्धी अध्ययन गरी प्रतिवेदन बुझाउन कार्यदल निर्माण गरिएको थियो ।
छ्याङकुटी–दिदीङ–पुखुवा क्षेत्रको मुआब्जा दर प्रतिरोपनी रु ११ लाख ७५ हजार रहने गरी दर निर्धारण गरिएको छ । केही दिनअघि जिल्ला मुआब्जा दर निर्धारण समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीको संयोजकत्वमा बसेको बैठकले मुआब्जा दर निर्धारण गरेको हो । जिल्लास्थित जनप्रतिनिधि, दलका प्रतिनिधि तथा सरोकारवालाबीच पटक पटकको छलफलपछि दर निर्धारण गरिएको हो ।
चिचिला गाउँपालिकाको १, २ र ३ वडाका करिब दुई सय घर परिवारको जग्गा अधिग्रहण गरी छ्याङकुटीदेखि परियोजनास्थल पुखुवासम्म जोड्ने साढे २३ किलोमिटर लामो सडक निर्माण गरिएको थियो । विसं २०४६ मा मुआब्जा वितरण भएको तर २०५१र५२ मा नापी हुँदा सरकारी स्वमित्वमा लगत कट्टा हुनुपर्नेमा व्यक्तिको नाममा भएकाले पछि २०६६र६७ सालमा लगत कट्टा हुँदाको छुट जग्गाको मुआब्जा अधिग्रहण गर्ने सूचना प्रकाशन भएको थियो । सो सूचनाका आधारमा आवेदन परेकाबाट सर्वपक्षीय बैठकबाट दर निर्धारण गरिएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बनेको अध्ययन समितिले चार सय ५१ रोपनी जग्गाको मुआब्जा दिन छुट भएको ठहर गरेको छ । छ्याङकुटीदेखि विद्युत् गृह पुखुवासम्मको छुट जग्गाको मुआब्जा नपाएको भन्दै स्थानीयवासीले पटक–पटक माग गर्दै आएका थिए ।
मुआब्जा दर निर्धारण भएसँगै स्थानीयवासी खुसी भएका छन् भने अवरोध भइरहेको अरुण तेस्रोको काम सहजरूपमा हुने अपेक्षा लिइएको छ । सङखुवासभाको मकालु गाउँपालिका–५ फ्याक्सिन्दामा बाँधस्थल निर्माणाधीन छ भने चिचिला गाउँपालिका–३ पुखुवामा विद्युत् गृह निर्माण भइरहेको छ । नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको काम भारतीय सतलज कम्पनी एसजेभिएनले गरिरहेको छ । आयोजनाको कूल लागत रु एक खर्ब चार अर्ब हुने अनुमान गरिएको छ । |
सफा हिमाल अभियान : ३५ हजार किलोभन्दा बढी फोहर सङ्कलन काठमाडौं । नेपाली सेनाले सञ्चालन गरेको सफा हिमाल अभियानका क्रममा अहिलेसम्म झण्डै ३६ हजार किलो फोहर सङ्कलन गरिएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सफा हिमाल अभियान २०२३ मा ३५ हजार किलो फोहर सङ्कलन गर्ने लक्ष्य रहेको थियो ।
हालसम्म अन्नपूर्ण हिमालबाट तीन हजार पाँच सय ६७ किलो, बरुञ्चे हिमालबाट १८ हजार पाँच सय २० किलो र सगरमाथा तथा ल्होत्सेबाट १३ हजार छ सय २१ किलो गरी जम्मा ३५ हजार सात सय आठ किलो फोहर सङ्कलन भइसकेको निर्देशनालयले जानकारी दिएको छ ।
सगरमाथा र ल्होत्से हिमाल सफाईका लागि सगरमाथाको आधार शिविरमा तैनाथ नेपाली सेनाको टोली सफाइ कार्य सम्पन्न गरी फिर्ता हुने क्रममा रहेको पनि नेपाली सेनाले जानकारी दिएको छ । विश्व वातावरण दिवसमा काठमाडौँमा औपचारिक कार्यक्रमको आयोजना गरेर अभियानको समापन गरिनेछ ।
सफा हिमाल अभियान २०२३ अन्तर्गत सगरमाथा र ल्होत्से हिमाल सफाइ तथा आरोहणका सिलसिलामा अस्वस्थ भई उपचाररत नेपाली सेनाका चार जनालाई थप उपचारको लागि भारत लगिएको छ । अभियानका क्रममा दुई शेर्पा सहयोगीको भने निधन भएको छ । |
कोरला नाकामा चाँडो भन्सार बन्नुपर्छ : अध्यक्ष तिमिल्सिना नवलपुर । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोरला नाकामा चाँडो भन्सार कार्यालय बन्नुपर्ने बताएका छन् । चीन र भारत जोड्ने देशकै सबैभन्दा छोटो नाकाका रूपमा रहेको कालीगण्डकी करिडोर निर्माणको काम अन्तिम चरणमा पुगेको भन्दै उनले कोरलामा चाँडो भन्सार स्थापना गर्नुपर्ने बताएका हुन् ।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको करिडोर निरीक्षणका लागि आज नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को गैँडाकोट आएका अध्यक्ष तिमिल्सिनाले चीनले भन्सार निर्माणको काम सकाएको उल्लेख गर्दै नेपालमा बल्ल जग्गा प्राप्ति भएको बताए । “कोरलामा चीनतर्फ भन्सार निर्माणका लागि उनीहरूले सबै पूर्वाधार बनाइसकेका छन्”, उनले भने, “नेपालमा जग्गा प्राप्तिको काम सकियो, तर अब निर्माण गर्ने कुरामा कमी भएको छ ।” आफूले अर्थमन्त्री तथा प्रधानमन्त्रीलाई कोरलामा नेपालले चाँडै भन्सार कार्यालय निर्माणको काम गर्नुपर्ने जानकारी गराएको उनले बताए ।
“यो करिडोर राष्ट्रिय गौरवको परियोजना हो”, उनले भने, “यसबाट सामान्य आउजाउ मात्रै नभएर त्रिदेशीय व्यापारको लाभ नेपालले लिन सक्छ ।” कोरला नाका धार्मिक पर्यटकीय मार्गसँगै व्यापारिक मार्ग पनि भएकाले सरकारले विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ । उत्तरमा चीनको सिमाना कोरला जोड्ने यस करिडोरले दक्षिणमा नवलपुरको त्रिवेणी भन्सार कार्यालयबाट भारतसँग सीमा जोड्ने काम गरेको छ ।
अध्यक्ष तिमिल्सिनाले कालिगण्डकी करिडोरको समग्र प्रगति राम्रो भएको भन्दै निर्माण कम्पनीले केही खण्डमा बेवास्ता गर्दा काम केही सुस्त गतिमा भएको बताए । “अहिले पछिल्लो समय कामले केही गति लिएको छ, अबको तीन वर्षभित्र यस करिडोरको सम्पूर्ण निर्माणको काम पूरा हुनुपर्छ”, उनले भने, “आयोजनाको काम ढिलो हुँदा लागत पनि बढ्छ, हामीले सेवा पनि ढिलो पाउँछौँ । लागत बढी हुने कुरामा किन लाग्ने, त्यसैले काम छिटो गराउन सबै जना लाग्नुपर्छ ।” यस करिडोर निर्माणको काम अन्तिम चरणमा पुगेको कालिगण्डकी करिडोर गैँडाकोट–राम्दी–मालढुङ्गा सडक आयोजनाले जनाएको छ । |
भोटो जात्राले चिडियाखानामा एकै दिन १२ हजार अवलोकनकर्ता, शुल्क आधाभन्दा कम काठमाडौं । रातो मछिन्द्रनाथको भोटो देखाउने दिन आज मात्रै ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा १२ हजार अवलोकनकर्ता आएका छन् ।
वर्षा र सहकालका देवता रातो मछिन्द्रनाथको भोटो देखाउने दिन परेकाले अन्य दिनभन्दा धेरैले चिडियाखाना अवलोकन गरेका हुन् । चिडियाखानाका सूचना अधिकारी गणेश कोइरालाका अनुसार अन्य दिन बढीमा तीन हजारले मात्र चिडियाखानाको अवलोकन गर्ने गरेका थिए आज भोटो देखाउने दिन भएकोले उल्लेख्य मात्रामा अवलोकनकर्ता आएका हुन् ।
चिडियाखाना अवलोकनकै लागि अन्य दिन रु दुई सय तिर्नुपर्ने भए पनि आज रु ७५ मै अवलोकनको व्यवस्था मिलाइएको अधिकारी कोइरालाले बताए । कोरोनाले गर्दा तीन वर्षसम्म आर्थिक समस्या झेलिरहेको चिडियाखानामा पछिल्लो समय अवलोकनकर्ताको भीड नै लाग्ने गरेको छ । उनका अनुसार अवलोकनकर्ता बढेकै कारण विगत वर्षमा भन्दा यस वर्ष आम्दानीको लक्ष्यसमेत बढाइएको छ । विगतका वर्षमा वार्षिक रु १४ देखि १६ करोड आम्दानी गर्दै आएको चिडियाखानाले यस वर्ष रु २० करोड आम्दानी गर्ने लक्ष्य लिएको छ ।
“यही अनुपातमा अवलोकनकर्ता आउने हो भने लक्ष्यमा पुग्न हामीलाई कठिन छैन । यहाँको आम्दानीको स्रोत भनेको अवलोकनकर्ताबाट आउने प्रवेश शुल्कवापतको रकम नै हो”, अधिकारी कोइरालाले भने ।
हाल चिडियाखानामा एक सय १० प्रजातिका एक हजार ६८ जीवजनावर रहेका छन् । त्यहाँका मुख्य आकर्षणका रूपमा बाघ, भालु, चितुवा र रातो हाब्रे छन् । ती प्रजातिमध्ये ३३ स्तनधारी, ६१ चरा, आठ उभयचर र १७ प्रजातिका माछा छन् । नेपालमा लोप हुन लागेको भनी सूचीकृत ३८ दुर्लभ वन्यजन्तुमध्ये १५ लाई चिडियाखानाले संरक्षण गरी प्रदर्शनीमा राखेको छ । चिडियाखाना अवलोकन गर्न विदेशीका लागि रु सात सय ५०, सार्क देशका लागि रु पाँच सय, नेपालीलाई रु दुई सय तथा नेपाली विद्यार्थी र ज्येष्ठ नागरिकका लागि रु ९० शुल्क निर्धारण गरिएको छ ।
अवलोकनका लागि तीर्ने शुल्कबाट नै चिडियाखानाले कर्मचारीलाई तलब भत्ता र जीवजनावरलाई खाना खुवाउनेलगायत सबै व्यवस्थापनको काम गर्दै आएको छ । तत्कालीन राणा प्रधानमन्त्री श्री ३ जुद्धशम्शेर जङ्गबहादुर राणाले सन् १९३२ मा यहाँ निजी चिडियाखानाका रूपमा स्थापना गरेका थिए ।
विसं २०११ देखि सर्वसाधारणका लागि खुला गरिएको चिडियाखाना विसं २०५२ देखि व्यवस्थापनको जिम्मेवारीसहित राष्ट्रिय प्रकृति संरक्षण कोषबाट सञ्चालित छ । |
कीर्तिमानी आरोही कामीरिता शेर्पालाई काठमाडौंमा भव्य स्वागत काठमाडौं । २८ औँ पटक सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान कायम गर्नुभएका पर्वतारोही कामीरिता शेर्पालाई काठमाडौंमा भव्य स्वागत गरिएको छ ।
सगरमाथाको सफल आरोहण गरेर बिहीबार काठमाडौं फर्किएका कामिरितालाई शेर्पा समूदाय लगाएत शुभेच्छुकहरुले भव्य स्वागत गरेका हुन् । यस सिजनमा दुई पटक सगरमाथाको सफल आरोहण गरेर उनले २८ औँ पटक आरोह गर्ने किर्तिमानी कायम गरेका हुन् ।
काठमाडौं आएपनि कामीरिताले आफुले रेकर्ड कायम गर्नका लागि नभएर नेपालमा पर्यटन क्षेत्रलाई प्रोत्साहन होस भनेर सगरमाथा चढेको बताए । उनले विदेशीहरुलाई सफल रुपमा सगरमाथा चढाउन सके नेपाललाई आर्थिक रुपमा पनि फाइदा हुने जिकिर गरे ।
सगरमाथा क्षेत्रमा काम गर्ने आफुजस्ता धेरैलाई सरकारलाई आवश्यक सहयोग गर्नुपर्ने उनको भनाइ छ । कामीरिताले आफ्नो ज्यानले भ्याएसम्म अर्को साल पनि सगरमाथाको आरोहण गर्ने उल्लेख गरे ।
सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका कामीरिताको नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान पनि छ । |
कर्णाली प्रदेशसभामा विनियोजन विधेयकका सिद्धान्त, उद्देश्य र प्राथमिकता प्रस्तुत हेमन्त केसी
सुर्खेत । कर्णाली प्रदेशसभामा विनियोजन विधेयक, २०८० का सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीतिहरू प्रस्तुत गरिएको छ । बिहीबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंहले कर्णाली प्रदेशको विनियोजन विधेयक, २०८० का सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीति प्रस्तुत गरेका हुन् ।
विनियोजन विधेयकमा नेपाल सरकारको पन्ध्रौं योजना र कर्णाली प्रदेशको पाँच वर्षे विकासको मार्गचित्र सहित प्रथम पञ्चवर्षीय योजना कार्यान्वयनमा जोड दिइएको छ ।
उक्त योजनाले निर्धारण गरेका प्राथमिकतामा रहेर योजना अवधिमा हासिल गर्न तोकिएका परिमाणात्मक लक्ष्यहरू प्राप्त गरी समृद्ध कर्णाली, सुखारी कर्णालीवासीको दीर्घकालीन सोचका साथ समावेशी, दिगो र उच्च आर्थिक वृद्धि हासिल गर्दै आर्थिक, सामाजिक रुपान्तरण, समतामूलक समाज र सामाजिक न्याय सुनिश्चित गर्न शिक्षा, स्वास्थ्य, उत्पादन र रोजगार त्यसका लागि पूर्वाधार भन्ने मूल मर्मका साथ आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट तर्जुमा गरिने उल्लेख छ।
|
बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम जेठ १४ मा बागमती । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम यही जेठ १४ गते प्रस्तुत गर्ने भएको छ ।
प्रदेशसभाको आजको बैठकमा सभामुख भुवनकुमार पाठकले नीति तथा कार्यक्रम प्रदेश सरकारको तर्फबाट प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रस्तुत गर्ने जानकारी दिए ।
सभामुख पाठकले उक्त दिन प्रदेशसभाका सदस्यलाई औपचारिक पोसाकमा उपस्थित हुन अनुरोध गरे । |
नारायणगढ–बुटवल सडकको प्रगति ३५ प्रतिशत नवलपुर । विस्तारको काम सुरु भएको पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायगढ सडकको पूर्वी खण्डमा ३५ प्रतिशत काम सकिएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पर्ने पूर्वी खण्डमा प्रतिमहिना तीन प्रतिशतभन्दा बढी प्रगति आउने गरी काम भइरहेको हो ।
नारायणगढ–बुटवल सडक योजना पूर्वी खण्डका सूचना अधिकारी इञ्जिनियर धीरज ढकालका अनुसार पछिल्लो समय सडकमा कालोपत्र हुनेक्रम बढेपछि समग्र प्रगति बढेको देखिएको हो । “सडक विस्तार गर्ने क्रममा छेउछाउमा माटो भर्ने, रुख काट्ने, विद्युत्का खम्बा सार्नेलगायतका काम गर्दा भौतिक प्रगति खासै देखिँदैन”, उनले भने, “अहिले धेरै ठाउँमा कालोपत्रको काम धमाधम भइरहेका कारण भौतिक प्रगति बढ्दै गएको हो ।”
इञ्जिनियर ढकालका अनुसार सडकको नवलपुर खण्डमा आठ दशमलव पाँच किलोमिटर सडकमा कालोपत्रको काम भइसकेको छ । “अहिले यस सडकको पूर्वी खण्डमा साढे आठ किलोमिटर एकतर्फी कालोपत्रको काम भएको छ”, उनले भने, “हर्कपुर, अमरापुरी तथा कावासोतीमा कालोपत्रको काम भएको छ, धेरै ठाउँमा कालोपत्रको तयारी भइरहेको छ ।”
अहिले सडकका विभिन्न भागमा दैनिक जस्तो कालोपत्रको काम भइरहेको इञ्जिनियर ढकालले बताए । “सडक विस्तारका लागि संरचना हटाएर माटो भरिएको ठाउँमा कालोपत्रको तयारी भइरहेको छ”, उनले भने, “आगामी असारसम्म मुकुन्दपुरबाट डोण्डासम्म कालोपत्र गर्नेगरी निर्माण व्यवसायीले काम गरिरहेको छ ।”
इञ्जिनियर ढकालका अनुसार यस खण्डको ६५ किमी क्षेत्रमा निर्माण हुने दुई सय १५ कल्भर्टमध्ये एक सय ११ मा काम सकिएको तथा ४० स्थानमा कल्भर्ट निर्माणको काम भइरहेको छ । यहाँ साना फलामे पुललाई हटाएर निर्माण हुने २२ माइनर ब्रिज (साना पक्की पुल)मध्ये १४ स्थानमा पुल निर्माण सम्पन्न भइसकेका छन् । “दुई स्थानमा एकसाइडको पुल निर्माण भएको छ, पाँच वटा माइनर ब्रिज निर्माणको काम भइरहेको छ”, उनले भने, “निर्माण भइरहेको ठाउँमा फाउन्डेशन, सबस्टक्चर र सुपस्टक्चरको काम भइरहेको छ ।”
चार लेनमा फराकिलो हुने सडकमा रहेका दुई लेनका ठूला पुलको स्थानमा १२ वटा चार लेनका पुल निर्माण हुँदैछन् । “अहिले १२ वटै ठूला पुल निर्माणको काम धमाधम भइरहेको छ”, उनले भने, “सात पुलमा सबस्टक्चरको काम सकियो, तीन वटामा सबस्टक्चरको काम हुँदैछ भने दुईमा काम भइरहेको छ ।” ठूला पुल निर्माण हुने स्थानमा राखिने ‘प्रिकास्ट’ र ‘प्रिस्ट्रेस गडर’ (पुलमा पिल्लर निर्माण गरेपछि ल्याएर लठ्ठाले तन्काएर राखिने बिम । यो बिम राखेपछि पुलमा ढलान गरिन्छ) को काम खोलाको नजिकै भइरहेको छ ।
सडक विस्तारको कामसँगै ढल निकासका लागि नाला निर्माणको काम पनि तीव्ररुपमा अघि बढेको ढकालको भनाइ छ । उनका अनुसार हालसम्म ३१ किमी नाला निर्माणको काम सकिएको छ । “अवस्था हेरेर हामीले नाला निर्माण गरेका छौँ, उनले भने, “सहज हुने ठाउँमा त्यहीँ फाउन्डेशन उठाएर नाला बनाएका छौँ, केही स्थानमा बाहिर तयार पारिएका सेट ल्याएर नाला बनाएका छौँ ।”
सडक विस्तारका लागि विद्युत् तथा खानेपानीको संरचना सार्ने काम पनि सँगसँगै भएको उनको भनाइ छ । “अहिलेसम्म विद्युतीय संरचना सार्ने काम ४५ प्रतिशत सकिएको छ, खानेपानीको संरचना सार्ने काम ७० प्रतिशत पूरा भएको छ”, उनले भने, “सडक विस्तारका लागि काटिने करिब ३६ हजार तीन सय रुखमध्ये ९९ दशमलव ९९ प्रतिशत काम सकिएको छ ।” सडक विस्तारका लागि अहिले सबै कर्मचारी गरी दैनिक एक हजार एक सयभन्दा बढी कामदार खटिइरहेका उनको भनाइ छ । |
ढुंगामा आकृति खोपेर आकर्षक बनाइँदै ऐनापहरा दमौली। तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐनापहराका ढुंगामा आकृति खोपर आकर्षकस्थल बनाउने काम भइरहेको छ। ऐनापहरालाई पर्यटकीय गन्तव्यस्थल बनाउने उद्देश्यसहित गाउँपालिकाले यहाँ रहेका ढुंगामा आकृतिक खोप्ने कामलाई अगाडि बढाएको हो।
पृथ्वीराजमार्ग नजिकै रहेको ऐनापहरामा रहेको झरनामा घुम्न आउने पर्यटक बढेसँगै गाउँपालिका यसको प्रवद्र्धनमा जुटेको हो। गत माघ महिनादेखि यहाँका ढुंगामा विभिन्न आकृति खोप्ने काम चलिरहेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए।
उनले भने, “यसै रहेका ढुंगालाई कलात्मक बनाएर पर्यटकलाई थप आकर्षित बनाउन यो कामलाई अगाडि बढाइएको छ।” हालसम्म गणेश र आमाले बच्चा लिएको आकृति खोप्ने काम सकिएको छ।
पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यसहित ऐनापहरामा उद्यान निर्माणको कामलाई अगाडि बढाइएको अध्यक्ष चुमानको भनाइ छ। गाउँपालिकाले स्थानीय कालीगढलाई यस कामका लागि प्रयोग गरेको छ।
ऐनापहरामा उद्यान निर्माणका लागि चालु आर्थिक वर्षमा रु एक करोड ४० लाख बजेट विनियोजन गरिएको छ। “ऐनापहरालाई तनहुँको मात्र नभइ गण्डकी प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने सोच राखेका छौ,” उनले भने, “सोही बमोजिम अहिले भइरहेको ठाउँलाई थप आकर्षण बनाउन काम सुरु भएको छ।”
गण्डकी प्रदेशको प्रवेशद्वारमा रहेको ऐनापहरामा मनमोहक झरना छ। कलकल बगेको पानी, हरियाली जंगल। खोंचबाट झरेको पानीले ऐनापहरा झरना पुग्ने जो कसैको पनि मन लोभ्याउँछ। थकित मुद्रामा यहाँ पुग्नेहरु आनन्दित भएर फर्किन्छन्।
पृथ्वीराजमार्गबाट एक मिनेटको दूरीमा पुगिने ऐना पहरा झरना आकर्षक पर्यटकीय स्थलको रुपमा विकास हुँदै गएको छ। राजमार्ग भएर यात्रा गर्ने सर्वसाधारणको विश्रामस्थलको रुपमा पनि ऐना पहरा झरना विकास भइरहेको आँबुखैरेनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले बताए।
काठमाडौँ, चितवनबाट पोखरातर्फ आउने र पोखरातर्फ यात्रा गर्ने सर्वसाधारण सवारीसाधन रोकेरै ऐनापहरा झरनामा रमाउने गरेका छन्। गाउँपालिकाले यस ठाउँमा स्काइ साइक्लिकिङ, सिसाको पुल बनाउने योजना अगाडि सारेको छ। सर्वसाधारणको सुविधाका लागि शौचालय गतवर्ष नै निर्माण भइसकेको छ। गर्मी मौसमका बेला झरनामा नुहाउन, थकान मेटाउन, भिडिओ, टिकटक बनाउन सर्वसाधारणको भीड लाग्छ।
तनहुँकै अग्लो महाभारत पर्वत शृङ्खला छिम्केश्वरीको फेदीमा अवस्थित सिउढी खोलाको पानी बगेर झरनामा मिसिएको छ। ऐनापहरा झरनालाई व्यवस्थित बनाउन गाउँपालिकाले विस्तृत गुरुयोजना प्रतिवेदन तयार गरेको जनाएको छ। यस ठाउँलाई व्यवस्थित गर्न डिपीआर अनुसार रु दश करोड बजेट आवश्यक पर्छ। विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) अनुसार यस ठाउँमा बुद्धको मूर्ति, रेलिङ, पार्किङ लगायतका संरचना निर्माण गर्ने उल्लेख छ। – रासस |
म्याग्दीमा मह उत्पादन घट्यो गलेश्वर। हिमाली जिल्ला म्याग्दीका स्थानीय तहले खेतीयोग्य जमिन र बस्ती नजिकका रुख काट्ने अभियान चलाएपछि मौरीपालन व्यवसाय प्रभावित बनेको छ।
बस्ती नजिकका आरु, चिउरी, पैँयू, दुदिलो लगायतका वनस्पति नासिँदै गएपछि पुष्परसको अभावका कारण मह उत्पादन घट्दै गएको किसानको भनाइ छ। त्यसैगरी वातावरणीय प्रदूषण र जलवायु परिवर्तनका कारण विभिन्न किसिमका रोगकीराको प्रकोप देखिन थालेका ज्यामरुककोटका मौरीपालक किसान बलबहादुर घिमिरेले बताए।
गत आर्थिक वर्ष २०७८/७९ मा विगतका वर्षको तुलनामा जिल्लाभर यसवर्ष मह उत्पादन घटेको हो। जिल्लाका विभिन्न स्थानमा किसानले गरेको मौरीपालन व्यवसायबाट यसवर्ष जम्मा १२ हजार केजी मह उत्पादन भएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ।
जिल्लामा रहेका दुई हजार पाँच सयवटा मौरीका आधुनिक घारबाट सो परिमाणको मह उत्पादन भएको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख किरण सिग्देलले जानकारी दिए। विगतका वर्षमा वार्षिक २० हजार केजीभन्दा बढी मह उत्पादन हुने गरेकोमा आर्थिक वर्ष २०७९/८० मा १७ हजार ६ सय केजी मह उत्पादन भएको हो।
पछिल्लो समय महको उत्पादनमा कमी आउन थालेपछि मौरीपालन व्यवसायमा आबद्ध किसान भने चिन्तित बनेका छन्। मौरीले एक पटकको विचरणमा एकै जातका बालीका फूलमा मात्रै विचरण गरी परागसेचन गर्ने मौरी विशेषज्ञ बताउँछन्। जुन क्रियाले पृथ्वीको आधारभूत पारिस्थितिक प्रणाली कायम रहेको उनीहरुको भनाइ छ।
‘द बी किपर्स लेमेन्ट’ पुस्तकमा मौरीलाई कृषि जैविक विविधता प्रणालीको गमका रूपमा प्रस्तुत गरिएको छ। विभिन्न जर्नलअनुसार संसारमा मौरीका दुई हजार एक सय प्रजाति छन्। विज्ञानले मात्रै नभएर वेदले पनि मौरीको महत्वपूर्ण योगदान उद्गार गरेको छ।
ऋग्वेदमा मौरीलाई परागसेचन गर्ने, मह उत्पादन गर्ने र सम्पूर्ण जीवजन्तुलाई कल्याण गर्ने जीवका रूपमा प्रस्तुत गरिएको छ। संयुक्त राष्ट्रसंघका अनुसार करिब ९० प्रतिशत जंगली फूल फुल्ने प्रजाति, ७५ प्रतिशत खाद्यबाली र ३५ प्रतिशत कृषिबाली जीव परागसेचनमा निर्भर छन्।
परागसेचनले खाद्य सुरक्षा र जैविक सुरक्षामा ठूलो योगदान पुर्याइरहेको छ। जीव परागसेचनको ८० प्रतिशतभन्दा बढी परागसेचन कीराबाटै हुनेगर्छ।
कीराबाट हुने परागसेचनमा सबैभन्दा बढी हिस्सा करिब ८० प्रतिशत मौरीले ओगट्ने ‘द बी किपर्स लेमेन्ट’ मा उल्लेख गरिएको छ। उपयुक्त शारीरिक बनावट, अति शक्तिशाली सञ्चार प्रणाली, उष्णदेखि लेकाली हावापानीमा सजिलै काम गर्नसक्ने क्षमताका कारण मौरी सबैभन्दा उच्च परासेचक हो।
वैज्ञानिक र आध्यात्मिक दुवै दृष्टिकोणको अत्यन्त महत्वपूर्ण मानिएको मौरी र मह पछिल्लो समय जलवायु परिवर्तन र मानवीय लापबाहीका कारण संकटमा पर्दै गएकोप्रति जानकारहरुले चिन्ता व्यक्त गरेका छन्।
म्याग्दीको मौरीपालन व्यवसायमा थाईस्याकग्रुड र युरोपियन फउलग्रुड रोगको प्रकोप देखिएको थियो। रोग र कीराको प्रकोपले गर्दा मौरीको घारमा मह, कुट, अण्डा, लार्भा र छाउरा नष्ट हुनुका साथै महका पोला रित्तै भएपछि महको उत्पादन घटेको किसानहरुले गुनासो गरेका छन्। एक वर्षमा सिजनअनुसार तीन पटकसम्म मह काढ्ने गरिन्छ।
म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरको डडुवामा मात्रै ७५ प्रतिशत मौरीमा रोगकीराको प्रकोप देखिएपछि रोकथामका लागि उपचार गरिएको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सिग्देलले जानकारी दिए। उनका अनुसार जाडो र चिसो मौसमका कारण मौरीले चिसो सहन नसकेपछि प्रकोप देखिनुका साथै सुलसुले र मैनपुतलीको समेत प्रकोप देखिएको थियो।
म्याग्दी जिल्लामा पहाडी क्षेत्रमा हुने सेरेना प्रजातिको मौरीलाई व्यावसायिक रुपमा पाल्ने गरिएको छ। अहिले जिल्लाभर तीन सयभन्दा बढी किसान मौरीपालन व्यवसायमा संलग्न भए पनि व्यावसायिक रुपमा जम्मा २० जना किसान क्रियाशील रहेको कृषि ज्ञान केन्द्रको तथ्यांक छ।
मौरीपालनमा किसान धेरै देखिए पनि व्यावसायिक बन्न सकिरहेका छैनन्। पछिल्लो केही वर्षयता मौरीमा विभिन्न किसिमको रोग तथा कीराको प्रकोप देखिएपछि मह उत्पादनमा कमी आएको छ। मौरी र मह उत्पादनका लागि मौसम प्रतिकूल हुनु, रोगकीराको प्रकोप फैलनु, पर्याप्त फूल समयमा नफुल्नु, चरन क्षेत्रको अभाव तथा जिल्लाभन्दा बाहिरबाट मौरी आयात गर्नुपर्ने बाध्यताको कारणले मह उत्पादन घट्दै गएको छ।
किसानले मह उत्पादन गर्नेभन्दा पनि मौरीसहित घार बिक्री गर्ने हुँदा पनि मह उत्पादनमा कमी आएको हो। म्याग्दीको बेनी नगरपालिकाको सुर्केमेला, सिंगा, डम्बरा, डडुवा, मंगला गाउँपालिकाको पूर्णगाउँ, कुहुँ, भर्जुला, रघुगंगाको राखुक्षेत्र, अन्नपूर्णको शिख, मालिकाको दरबाङ, दिच्याम, धवलागिरिको ताकम, हिलापोखरीलगायत क्षेत्रमा मह उत्पादन हुँदै आएको कृषि ज्ञान केन्द्रको तथ्यांकमा उल्लेख छ। कृषि ज्ञान केन्द्र र स्थानीय तहबाट किसानलाई अनुदानमा घार सहयोग, विभिन्न समयमा तालिम गोष्ठी प्रदान र बीउ पुँजीलगायत सहयोग हुँदै आएको छ।
राम्रोसँग मौरीपालन गर्न सकेमा एक सिजनमा एउटै घारबाट झण्डै आठ केजीसम्म मह उत्पादन हुनसक्ने किसानसँग अनुभव छ। अहिले प्रतिकेजी महलाई रु एक हजार छ सय पर्दछ। म्याग्दीमा उत्पादित मह नेपालको विभिन्न जिल्ला हुँदै विदेशको जापान, कतार, साउदी, बहराईन जस्ता मुलुकमा प्रवासी नेपालीले पुर्याउने गरेका छन्।
किसानले मह, घार, मौरीसहित महको पोला र मौरीसँगै घार बिक्री गरेर वार्षिक रुपमा मनग्य आम्दानी गर्दछन्। म्याग्दीका किसानले काठ तथा आधुनिक घारमा मौरी पाल्दै आएका छन्भने महलाई औषधि र पूजाआजामा प्रसादको रुपमासमेत प्रयोग गरिन्छ। – रासस |
हिले–छिन्ताङ त्रिवेणी सडकको काम धमाधम, ७० प्रतिशत काम सम्पन्न भोजपुर। कालोपत्र गर्ने लक्ष्यका साथ भोजपुरमा निर्माण भइरहेको हिले–उत्तरपानी–छिन्ताङ–त्रिवेणी सडकको काम धमाधम भइरहेको छ। दश किलोमिटर लामो सडकको हालसम्म ७० प्रतिशत काम सम्पन्न भएको छ।
पूर्वाधार विकास कार्यालय भोजपुरअन्तर्गत कोशी प्रदेश सरकारको रु २९ करोड ७२ लाख ९८ हजार ६३ लागतमा सडकको निर्माण थालिएको हो। यो सातादेखि पहिलो चरणमा पाँच किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्य रहेको पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजेश्वर महतोले जानकारी दिए।
यो सडक खण्डको १० किलोमिटरमध्ये यो आर्थिक वर्षमा पाँच किलोमिटर सडक कालोपत्र गरिने महतोले बताए। निर्माण कम्पनी रायामाझी, आजादका प्रतिनिधि प्रेमकुमार मल्लले आगामी पुस महिनाभित्र १० किलोमिटर नै कालोपत्र सक्ने लक्ष्य रहेको बताए।
वर्षात्को समयमा यो सडकमा यातायात सञ्चालनमा समस्या हुने गरेको थियो। हिलेबाट त्रिवेणीसम्म करिब २६ किलोमिटर सडकमध्ये १० किलोमिटर कालोपत्र गर्ने लक्ष्यसहित २०७८ असोजमा यो सडकको शिलान्यास गरिएको थियो। – रासस |
विभेदविरुद्धको उजुरी प्रकरण : छलफलमा बोलाएर विणुदेव पासवानमाथि कुटपिट सिरहा। भगवानपुर गाउँपालिका अध्यक्ष उग्रनारायण यादवको कार्यकर्ताले छलफलमा बोलाएर ‘भोजको उजुरी हाल्ने यही मान्छे हो’ भन्दै दलितमाथि कुटपिट गरेका छन्।
अध्यक्ष उग्रनारायण यादवको कार्यकर्ताले छलफलमा बोलाएर भोजको विषयमा मुद्दा हाल्ने यही हो भन्दै सिरहाको भगवानपुर गाउँपालिका-१ का विणुदेव पासवानमाथि कुटपिट भएको हो।
गाउँमा बनाएको मन्दिरको भुक्तानीको विषयमा छलफल गर्ने बाहनामा बोलाएर पासवानलाई नेकपा एमालेका गाउँ कमिटीका पदाधिकारी सूर्यनारायणप्रसाद यादव, नन्दी यादव, घुरण यादव, देवन यादव, जीवछ यादवसहितले पासमानलाई सामूहिक रुपमा घेराबन्दीमा पारी कुटपिट गरेका छन्।
गाउँमा बनेको मन्दिरको भुक्तानीको विषयमा छलफल गर्नुछ, हामी दुई÷तीनजना बसेर छलफल गरौं भन्दै जीवछ साफीमार्फत योजनाबद्ध तरिकाले बोलाउन लगाएर आफूमाथि सार्वजनिक स्थलमा गाली गलौज र कुटपिट गरेको पासवानले बताए।
‘मलाई जीवछ साफीमार्फत योजनाबद्ध तरिकाले भगवानपुर-१ मुख्य चोकको प्राथमिक स्वास्थ्य केन्द्रमा बोलाएर अनावश्यक रुपले निहुँ खोज्दै गालीगलौज गर्दै यही हो भोजको विषयमा मुद्दा हाल्ने? यसलाई बाँधेर थुन भन्दै कुटपीट गरे,’ पासवानले भने, ‘पहिला दुई/तीन जना बसेर छलफल गरौं भने पनि पछि उनीहरु सबै एक्कासी जम्मा भएर ममाथि सांघातिक आक्रमण गरे।’
पसवानको अध्यक्षतामा रहेको उपभोक्ता समितिले गत आर्थिक वर्षमा गाउँकै मन्दिर निर्माण गरेको थियो। चुनाव नजिकिएकाले त्यसबेला भुक्तानी हुन नसकेका उनले गाउँ पालिकाबाट अझै भुक्तानी नपाएको बताए । त्यसको विषयमा छलफलमा बोलाएकाले आफू गएको पासवानले बताए।
भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्र नारायण यादवकी आमाको गत २२ फागुनमा भएको शुद्धि भोजमा जातीय आधारमा दलित, मुस्लिम र गैरदलित समुदायलाई छुट्टाछुट्टै ठाउँमा ब्यानर, प्लेकार्ड नै राखेर जातीय विभेद हुनेगरी भोज खुवाएको भन्दै पासवानसहितका दलित अगुवाहरुले गत ५ चैतमा दिएको उजुरी १४ गते जिल्ला प्रहरी कार्यालय सिरहामा दर्ता भएको थियो।
उजुरी हाल्ने क्रममा पनि गाउँपालिका अध्यक्ष यादव पक्षबाट पीडितहरुलाई धम्की दिएका थिए। त्यही मुद्दाको साक्षी बयानको लागि जिल्ला प्रहरी कार्यालय जानलाई ठिक परेका बेला नियोजित ढंगले बोलाएर आफूमाथि आक्रमण भएको पासवानको भनाइ छ।
सोही मुद्दा दर्ता गराएको भन्दै पासवानमाथि अध्यक्ष यादवका निकट व्यक्तिहरुले पासवानलाई कुटपिट गरेका हुन्। कुटपिटबाट उनको अनुहारसहित शरीरको विभिन्न भागमा चोटपटक लागेको छ। चोटका कारण उनको ढाडमा समस्या भएको प्रादेशिक अस्पताल लहानले जनाएको छ।
बिहीबार बिहान छलफलमा बसेका बेला विवाद भएको भन्ने जानकारी पाएपछि प्रहरीको टोली पठाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रवीन्द्र राज पाण्डेले जनाएको छ। उनले भने, ‘बिहानी छलफलको क्रममा विवाद भएको भन्ने जानकारी पाएपछि प्रहरी टोलीपुग्दा साम्य भइसकेको थियो। त्यसपछि हामीले विशेष जानकारी लिएनौं।’ |
६ महिना अघि निर्माण सम्पन्न भएको औद्योगिक प्रदर्शनीस्थल प्रयोगबिहीन चितवन। उद्योग संघ चितवनको अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी केन्द्र परिसरमा प्रदेश सरकारले निर्माण गरेको औद्योगिक प्रदर्शनीस्थल प्रयोगबिहीन अवस्थामा रहेको छ। विसं २०७७ मा निर्माण सुरु भएको सो प्रदर्शनीस्थल ६ महिना अघि निर्माण सम्पन्न भएको हो। तर त्यसयता प्रयोगबिहीन अवस्थमा छ।
बागमती प्रदेश सरकारको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयले रु एक करोड ८० लाखको लागतमा निर्माण गरेको सो प्रदर्शनीस्थल हस्तान्तरण कसलाई गर्ने भन्ने निर्णय नभएकाले अलपत्र परेको हो।
निर्देशनालयका निर्देशक गोविन्द सिग्देलका अनुसार भवन निर्माणको समयमा संरचना निर्माण सम्पन्न भएसँगै उद्योग संघलाई हस्तान्तरण गर्ने निर्णय भएको थियो। उनले भने, “संघीय सरकारले सो जग्गा २९ वर्षका लागि उद्योग संघलाई भाडामा दिएको हुँदा त्यो निर्णय भएको हो। तर मन्त्रीस्तरको निर्णयले त्यो सम्झौता बदर भएको छ।”
तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मिलनबाबु श्रेष्ठको कार्यकालमा निर्माण सम्पन्न भएको सो संरचना उद्योग संघलाई हस्तान्तरण गर्ने निर्णय बदर भएको उनले बताए। उनले भने, “मन्त्रीस्तरको निर्णयका कारण कसलाई संरचना हस्तान्तरण गर्ने भन्ने अनिर्णय बनेको छ। अब मन्त्री पाएका छौँ केही निर्णय हुन्छ।”
प्रदेश सरकारले प्रदेशभित्रका लघु तथा साना उद्योगको उत्पादित सामग्रीलाई बजारीकरण गर्ने उद्देश्यले स्थापना गरेको यस बिक्रीकक्ष तथा स्थायी प्रदर्शनी केन्द्र अहिले संरक्षण र व्यवसायीको पर्खाइमा रहेको छ। यस भवनमा वर्षभरि नै व्यवसाय प्रवर्द्धन गर्न सकिने भए पनि सञ्चालनमा नआउँदा लघु तथा साना उद्योगीले लाभ लिन पाएका छैनन्। – रासस |
पाँचखाल खानेपानी आयोजना : सात हजार घरमा पानी पुर्याइने काभ्रे। सात हजारलाई खानेपानी पुर्याइने लक्ष्यकासाथ सुरु गरिएको पाँचखाल बृहत् सहरी खानेपानी तथा सरसफाइ आयोजना थपिएको निर्धारित समयमा सम्पन्न गर्न निर्माणका कामलाई तीव्रगति दिइएको छ। विविध कारण आयोजनाको समायावधि एक वर्ष थपिएपछि आउँदो पुस महिनाभित्र नगरका सात हजार घरमा खानेपानी पुर्याउने लक्ष्य लिइएको जनाइएको छ।
विसं २०७६ भदौ १२ गते सम्झौता गरिएको परियोजनाको २०७९ पुस महिनाभित्र सक्नुपर्ने गरी सहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजना, नगर विकास कोष, पाँचखाल नगरपालिका र खानेपानी उपभोक्ताबीच सम्झौता गरिए पनि कोरोना महामारीलगायत सामग्री अभाव तथा विविध कारणले एक वर्ष समयावधि थपिएको हो। सरकारले चालु आर्थिक वर्षको बजेट वक्तव्यमा २०७९ सालभित्र पाँचखाल सहरी खानेपानी तथा सरसफाइ आयोजनाको काम सक्नेसमेत उल्लेख गरिए पनि आयोजना लम्बिएको हो।
नगरको १३ मध्ये १० वटा वडाका लागि उक्त खानेपानी आयोजना सञ्चालनार्थ रु एक अर्ब ३४ करोड ६६ लाखमा हुवाइ कन्काई जेभिसँग सम्झौता भएको थियो। आयोजना सम्झौताको शर्तानुसार कुल योजनाको पाँच प्रतिशत अर्थात् रु ११ करोड पाँच लाख उपभोक्ताले जम्मा गरिसकेका छन्। जसअनुसार प्रतिउपभोक्ता परिवारले खानेपानी परियोजनाको बैंक खातामा रु १८ हजार जम्मा गरेका छन्।
हाल खोनेपानी आयोजनाको काम ८५ प्रतिशत सकिएको जनाउँदै केही स्थानमा पानी परीक्षणसमेत गरिएको छ। परीक्षणबाट मुहानमा लगातार चार पम्प प्रयोग गरी चार कलेक्टर वेलबाट संकलन भएर दुईवटा सम्वेलमा जम्मा भएको पानी २४ घण्टा तान्दा पानीको सतहबाट ८० सेन्टिमिटरमात्रै घटेको पाइएको उपभोक्ता समितिका अध्यक्ष कुमार लामिछानेले बताए।
उनका अनुसार योजना प्रारम्भिक लक्ष्यअनुसार प्रतिसेकेन्ड ८४ लिटर पानी तान्न सफल भएको छ। प्रतिघण्टा तीन लाख दुई हजार चार सय पानी तान्न सहज ढंगबाट सकिने भएको छ। यस्तै दैनिक लगातार २० घण्टा पानी तान्दा ६० लाख ४८ हजार लिटर पानी उपभोग गर्न सकिने भएको हो।
योजना लागू भएको क्षेत्रमा हाल छ हजार ३७ धारा जडान हुने भएको छ। हालको अवस्थामा प्रतिधारा दैनिक एक हजार एक लिटर पानी आउने छ। जसमध्ये दैनिक प्रतिव्यक्ति एक सय ९२ दशमलव पाँच लिटर पानी दैनिक उपभोग गर्न पाउने प्रक्षेपण गरिएको छ।
समिति अध्यक्ष लामिछानेले आयोजनामा हाल दैनिक एक सय ३० जना कामदार खटिरहेको बताए। आयोजनाका सुपरभाइजर इन्द्रमानसिं बस्नेतका अनुसार आयोजनामा कलेक्टर–वेल चार, सम्प–वेल दुई, भुई ट्यांकी १६, ब्रेक प्रेसर ट्यांकी छ, पानी प्रशोधन प्लान्ट (फ्लोकुलेटर दुई, प्लेन सेडिमेन्टेसन ट्यांकी दुई, र्यापिड–स्याण्ड फिल्टर एक), प्रसारण लाइन ९.१३ किलोमिटर, शाखा प्रसारण लाइन ३७.२३ किलोमिटर, वितरण लाइन एक सय ८९.३ किलोमिटर, कार्यालय भवन एक, गार्ड भवन १७, जेनेरेटर भवन पाँच, फायरहाइड्रेन्ट २०, इलेक्ट्रिकल तथा इलेक्ट्रोमेकानिकल कार्य तथा अन्य सम्बन्धित कार्य, सरसफाइका संरचना तथा आवश्यक शौचालय निर्माणका काम अन्तिम चरणमा पुगेका छन्।
पाँचखाल नगरमा खानेपानी व्यवस्थापनका लागि भुम्लु गाउँपालिका–१० विमिरेस्थित सुनकोसी नदी किनारमा इनार तथा लिफ्टिङ प्रविधिका भौतिक पूर्वाधार निर्माणसँगै ढलान तथा ग्राभेल गरी सडक पुर्याउने काम भइसकेको छ।
यस्तै हाल मूल र रिजर्भ ट्यांकीसम्म पहुँचमार्गको काम भइरहेको छ भने करिब चार हजार घरमा धारा जडानकार्य सकिएको लामछिानेले बताए। उनका अनुसार कोरोना संक्रमणका लहर तथा गत असार–साउनमा सुनकोसी नदीको बाढीले मुहान क्षेत्रका संरचनामा क्षति पुर्याएका कारण पनि आयोजनाको काम केही धकेलिएको हो। – रासस |
धौलागिरी अस्पतालमा मेरुदण्डको शल्यक्रिया गलकोट। बागलुङको धौलागिरी अस्पतालमा पहिलोपटक मेरुदण्डको शल्यक्रिया गरिएको छ। मेरुदण्डको हड्डी भाँच्चिएर समस्यामा पर्नुभएका बागलुङकै ५२ वर्षीय एक पुरुषकोे बुधबार शल्यक्रिया गरिएको हो।
धौलागिरी अस्पतालका डा विनित ढकाल, डा समिर लामिछाने, डा प्रमेश थापा, डा राजन शर्मा, डा अमित ढुंगानालगायत चिकित्सक टोलीले मेरुदण्डको शल्यक्रिया गरेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा रविरञ्जन प्रधानले जानकारी दिए।
“यसअघि कम्मरको हड्डी भाँचिएको पनि शल्यक्रिया गरिएको थियो, ‘रिफर सेन्टर’का रूपमा चिनिएको अस्पतालले पछिल्लो समय विशेषज्ञ सेवालाई थप गर्दै गएको छ”, उनले भने। अहिले अस्पातलमा दैनिक चार सयको हाराहारीमा बिरामी उपचारका लागि आउने गरेका डा प्रधानले बताए।
यसअघि मेरुदण्डको शल्यक्रियाका लागि बिरामी पोखरा, भरतपुर, काठमाडौँलगायत ठाउँ जाने गरेका थिए। महँगो उपचारका रूपमा मानिदै आएको मेरुदण्डको शल्यक्रिया बागलुङकै सरकारी अस्पतालमा भएपछि अब अरुलाई पनि सहज हुने भएको छ। पछिल्लो समय विशेषज्ञ चिकित्सक थप भएसँगै अस्पतालले ओपिडी बाहेकका अन्य विशेष प्रकारका सेवासमेत दिन थालेको छ। रासस |
null |
अव्यवस्थित बसोबासी समस्या हल नहुँदा सम्पन्न भएन वाग्मती करिडोर काठमाडौं । निर्माण सुरु भएको साढे दुई दशक बित्दासमेत अव्यवस्थित बसोबासका कारण वाग्मती करिडोरको निर्माण सकिएको छैन ।
सहरको मध्यभागमा समस्या नभएका ठाउँमा ट्र्याक खोलिइसकिएको भए पनि तिलगङ्गा, थापाथली, बल्खुलगायतका क्षेत्रमा अव्यवस्थित बस्तीले गर्दा ट्र्याक खुल्न बाँकी रहेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका सूचना अधिकारी कमल अर्यालले बताए ।
बानेश्वर क्याम्पस क्षेत्रमा एकातिर मात्रै खुलेको छ भने अर्कातर्फ खुल्न सकेको छैन । तिलगङ्गाबाट अगाडि देब्रे सडक मात्रै खुलेको छ । उनले भने, “तीनकुने पुलबाट दायाँतर्फ सिनामङ्गल पुल नजिकै दुई किमी सडक खुल्न सकेको छैन ।”
अव्यवस्थित बसोबासीका विषयमा राष्ट्रिय मुद्दा बनेको र यसको समाधान भएपछि मात्रै ती स्थानमा सडक निर्माण गर्न सकिने उनले बताए । तिलगङ्गादेखि सिनामङ्गलसम्म पाँच÷छ सय र थापाथलीमा दुई सय ४३ घरधुरीको बसोबास करिडोर सडक निर्माण गर्ने स्थानमा रहेको छ ।
राष्ट्रिय भूमि आयोगले पहिले त्यस समस्याको समाधान गरेपछि मात्रै करिडोर निर्माण अघि बढ्नसक्ने सूचना अधिकारी अर्यालले बताए । आयोग र सम्बन्धित स्थानीय तहको भूमिका बढी रहेको उनको भनाइ छ । उनले भने, “वास्तविक सुकुम्बासी को हुन् को होइनन् भन्ने भएपछि थप काम गर्न सकिनेछ ।”
तीनकुनेबाट बुद्धनगर हुँदै थापाथलीसम्मका खण्डमा सडक बनिसकेको छ । शङ्खमूलमा च्यासल मैदानबाट मनोहरातर्फबाट आउँदाका खण्डमा ट्र्याक खुल्न बाँकी रहेको अर्यालले बताए । शङ्खपार्क क्षेत्रमा काठमाडौँतर्फ ट्र्याक खुलेको छ भने ललितपुरतर्फ खुलेको छैन । शङ्खमूलबाट ललितपुरतर्फ निरन्तर जाँदा चक्रपथ बल्खु हुँदै सुन्दरीघाटसम्म सडक पुग्छ । सुन्दरीघाटबाट पनि अस्थायी बाटो चोभारको मोर्डन इन्डियन स्कुलको अगाडिसम्म पुगेको उनले जानकारी दिए । उनले भने, “थापाथलीमा अस्थायी बसोबासीको घर धेरै हुँदा समाधान नहुँदासम्म गर्न सकिँदैन ।”
विष्णुमती दोभानबाट अघि बढ्दा फलफूल बजारतिर अघि ट्र्याक खुलेको र अबका दिनमा त्यसलाई स्तरोन्नति गरिने समितिको योजना छ । समितिको कार्यक्षेत्र बागद्वारबाट कटुवाल दहसम्म ४४ किमी हो । सुरु र अन्तिम खण्डमा निर्माण हुन बाँकी छ भने बीचका खण्डमा पनि समस्या नभएका खण्डमा मात्रै निर्माणको काम भएको छ ।
करिडोर निर्माणको काम अव्यवस्थित बस्ती भएको ठाउँमा नै बढी बाँकी रहेको समितिले जनाएको छ । अरु कतिपय ठाउँमा अरु संरचनाका कारण पनि करिडोर निर्माण अघि बढ्न नसकेको पाइएको छ । कतै विद्यालय, क्याम्पस र वृद्धाश्रमलगायतका संरचना रहेकाले निर्माण हुन नसकेको उनले बताए । उनले भने, “अहिले त्यो सारेर काम अघि बढिरहेको छ ।”
काठमाडौँका मुख्य सडकमा रहेको सवारी चाप कम गर्नेसँगै बाग्मती र त्यसको सहायक नदीको संरक्षण गर्ने उद्देश्यले सडक निर्माण र नदी संरक्षणको काम सुरु गरिएको थियो । समिति एक्लैले नसक्ने हुँदा अहिले आएका समस्या समाधानमा सरोकार राख्ने सबै निकाय मिलेर गर्नुपर्ने सूचना अधिकारी अर्यालले बताए । |
राणाकालीन दरबार संरचना नारायण भवनको अस्तित्व मेटिँदै ललितपुर । ललितपुरको जावलाखेलमा जुद्ध शमशेरले उहाँका कान्छा छोरा नारायण शमशेरका लागि निर्माण गरिएको राणाकालीन दरबार संरचना नारायण भवन जीर्ण बन्दै गएको छ । विसं २०७२ को भूकम्पपछि जीर्ण बन्दै गएको उक्त भवनमा अहिले बोटबिरुवा उम्रेका छन् । अबको दिनमा नारायण भवनको भविष्य के हुने हो कसैलाई थाह छैन ।
भूकम्पका कारण राणाकालीन दरबार संरचना नारायण भवनको पूर्वतिरको भाग पूरै भत्केको छ । छाना भत्किन लागेको छ । पीपल, उत्तिसलगायतका बिरुवा उम्रेर र भवनको अस्तित्व हराउँदै गइरहेको छ । ऐतिहासिक दरबार संरचनाको पुनःनिर्माणको लागि कुनै पनि जिम्मेवारी निकायबाट पहल भएको छैन ।
पुनःनिर्माणका लागि पुरातात्विक विभाग र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलाई पत्राचार गरेको तर ऐतिहासिक दरबार संरचना नारायण भवन निर्माणका लागि पहल नगरेको स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका व्यवस्थापन अधिकृत उदय खनालले दुखेसो पोखे ।
“नारायण भवन एउटा ऐतिहासिक भवन हो । यसको संरक्षण गर्ने राज्यको जिम्मेवारी हो तर राज्यले ऐतिहासिक संरचणाको संरक्षण र पुनःनिर्माणका लागि चासो देखाएको छैन”, उनले भने, “यस्ता प्रकारका ऐतिहासिक संरचना आफ्नै आँखा अगाडि भत्किएको देख्दा दुःख लाग्छ ।”
स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका एक कर्मचारीका अनुसार, नारायण भवनमा विसं २०५१ देखि महिला विकास प्रशिक्षण केन्द्रको कार्यालय त्यहाँ रहेको थियो । महिला विकास प्रशिक्षन केन्द्रकोे कार्यालय त्यहाँबाट अर्को ठाउँमा सरेपछि राष्ट्रिय पञ्जीकरण विभागको कार्यालयल त्यहाँ थियो । विसं २०७२ को भूकम्पले ऐतिहासिक दरबार संरचनामा क्षति पु¥याएपछि राष्ट्रिय राष्ट्रिय पञ्जीकरण विभाग त्यहाँबाट अर्को ठाउँमा सर्न बाध्य भएको थियो ।
राणाकालीन दरबार संरचना नारायण भवनअन्तर्गतको १६ रोपनी १४ आनामा फैलिएको जग्गा हाल स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको स्वामित्वमा छ । नारायण भवन, स्टिल टावर र त्यहाँ छेवमै रहेको नर्सरीलाई स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानले भाडामा दिएको छ ।
विसं २०७६ चैत ५ गतेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को निर्णयअनुसार स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको स्वामित्वमा रहेको महिला विकास प्रशिक्षण केन्द्रको भवन, चमेना गृह र प्रशिक्षण हल तालिम परियोजनका लागि मात्र प्रदेश सुशासन केन्द्रलाई हस्तान्तरण गरेको सूचना अधिकारी कृष्णप्रसाद भट्टराईले जानकारी दिए । उनले भने, “बागमती प्रदेश सञ्चार रजिष्टारको कार्यालय पनि रहेको छ तर त्यो विषयमा हामीलाई जानकारी छैन ।”
“कुनै समय आफू कार्यरत रहेको ऐतिहासिक भवन दिनप्रतिदिन जीर्ण हुँदै गएकामा दुःख लाग्छ”, एक कर्मचारीले भने, “त्यहाँ धेरै महँगा काठ थिए । महँगा सामान पनि थिए तर उचित संरक्षण नगर्नुले ती सबै हराउँदै गइरहेका छन् । राज्यले यस्ता इतिहास बोकेका दरबार संरचनालाई संरक्षण तथा पुनःनिर्माणको पहल गर्नुपर्ने हो तर भूकम्प गएको दशक बित्न लाग्यो अझै पहल भएको छैन ।”
दिनप्रतिदिन जीर्ण हुँदै गएको राणाकालीन दरबार संरचना भत्किँदै गएको छ । घाँसले छोपिँदै गएको छ । संरक्षण नभएको कारण त्यहाँका काठ र अन्य सामान विस्तारै चोरी हुँदै गएका छन् । अस्तित्व हराउँदै गएको छ । सरकारले ऐतिहासिका संरचनाको पुनःनिर्माणका लागि पहल अझै गर्न सकिरहेको अवस्था छैन । हाल स्थानीय विकास प्रशिक्षण प्रतिष्ठा नारायण भवन पुनःनिर्माणको प्रतिक्षामा छ ।रासस |
स्वास्थ्यकर्मीले पाँच महिनादेखि तबल पाएनन् तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीले पाँच महिनादेखि तलब नपाएपछि हातमा कालोपट्टि बाँधेर आन्दोलन गरेका छन् । तिलोत्तमा नगरपालिकाअन्तर्गतका १७ वटा स्वास्थ्य संस्थामा कार्यरत ७८ जना स्वास्थ्यकर्मीले पुस महिनादेखिको तलब नपाएपछि बाध्य भएर आन्दोलित गर्नुपरेको बताएका छन् ।
नगरपालिका कार्यालयमै आज पत्रकार सम्मेलन गरी कर्मचारीले तलब नपाएपछि जेठ १ गते सबै स्वास्थ्यकर्मीको तर्फबाट ज्ञापनपत्र विभिन्न निकायमा बुझाए पनि सुनुवाइ नभएपछि चरणबद्धरूपमा शान्तिपूर्ण आन्दोलनमा आएको बताएका छन् ।
स्वास्थ्यकर्मी सङ्घर्ष समितिका संयोजक ज्ञानप्रसाद पौडेलले आफूहरूले तलब प्राप्तिका लागि नगरप्रमुख रामकृष्ण खाँण, उपप्रमुख जगेश्वरदेवी चौधरी र प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालसँग पटकपटक मौखिक र लिखित माग गर्दा पनि सुनुवाइ नभएको गुनासो गरे । उनले प्रमुख जिल्ला अधिकारीमार्फत माथिल्लो निकायमा ज्ञापनपत्र बुझाए पनि सुनुवाइ नभएको बताए ।
पाँच महिनासम्म तलब नपाउँदा घरखर्च चलाउन समस्या भएको भन्दै स्वास्थ्यकर्मीले छिटो तलब पाउने व्यवस्थाका लागि नगरपालिकासँग आग्रह गरिएको छ । यहाँ ४५ जना दरबन्दी तथा समायोजन संशोधन, कामकाज र कोभिड काज गरी ३२ जना दरबन्दीबाहेकका कर्मचारी छन् ।
तलब नपाएको विरोधमा अहिले कालोपट्टी बाँधेर काम गरिरहेका स्वास्थ्यकर्मीले जेठ १२ गतेदेखि नगरपालिका कार्यालयमा धर्ना दिने कार्यक्रम रहेको सङ्घर्ष समितिका सदस्य जनस्वास्थ्य निरीक्षक ठानेश्वर बस्यालले जानकारी दिए ।
तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले दरबन्दीभन्दा बढी कर्मचारी कार्यरत हुँदा तलब दिन नसकिएको बताए । उनले स्वास्थ्यले पठाएको बजेट पुगेको र त्यसपछि बजेट नपुगेपछि सबैको रोकिएको बताए । तर सङ्घर्ष समितिले स्वास्थ्यकर्मीको पाँच महिनाको करिब रु चार करोड तलब दिन बाँकी रहेको जनाएको छ । |
पशुपति वनकालीमा पार्थिव शिवलिङ्ग पूजाआजा हुने काठमाडौं । मानश तथा बोलबम परिवार, जनकपुरधामको आयोजनामा भोलि बिहीबार पशुपति वनकालीस्थित हंशमण्डपमा दिनभर पार्थिव शिवलिङ्ग पूजाआजा हुनेभएको छ ।
स्वदेश तथा विदेशमा समेत धार्मिक अनुष्ठान गर्दै आएको सो बोलबम परिवार नामक संस्थाले जनकपुरबाट ल्याएको माटोले पशुपतिनाथ परिसरमा शिवलिङ्ग बनाई पाठ, पूजा, हवन गर्न लागेको हो ।
सो संस्थाका अध्यक्ष ललन ठाकुरले बनारसबाट झिकाइएका पण्डितसहित स्वदेशस्थित मधेसी र पहाडी ब्राह्मणको संलग्नतामा चण्डी र रुद्री पाठसहित हवन हुने धार्मिक अनुष्ठानमा ठूलो सङ्ख्यामा भक्तजनको उपस्थिति हुने जानकारी दिए । सो संस्थाले यसअघि २०७४ सालमा जनकपुरको रङ्गभूमि बाह्रबिघामा एकैदिन दश हजार भक्तजनको उपस्थितिमा पार्थिव शिवलिङ्ग पूजाआज गरेको जनाएको छ ।
बोलबम परिवार संस्थाले देशभित्र जनकपुरस्थित प्रसिद्ध राम–जानकी मन्दिरसहित विभिन्न धार्मिक मठमन्दिर र छिमेकी मित्रराष्ट्र भारतको अयोध्यासहित विभिन्न धार्मिक नगरीमा यसकिसिमको पार्थिव शिवलिङ्ग पूजाआजासहित धार्मिक अनुष्ठान कार्य सम्पन्न गरकोसमेत अध्यक्ष ठाकुरले जानकारी दिए । |
आरोही बुढालाई राज्यले उच्च सम्मान गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कीर्तिमानी आरोही हरि बुढामगरसहितको टोलीलाई आज सिंहदरबारस्थित कार्यकक्षमा सम्मान गरेका छन् ।
अध्यक्ष तिमिल्सिनाले दुवै खुट्टा गुमाउँदा पनि सगरमाथा आरोहण गरेर बुढामगर सबैको प्रेरणाको स्रोत बनेको बताए । उनले बुढामगरलाई सरकारले सम्मान गर्नुपर्नेमा जोड दिए । उनले भने, “सरकारले संविधान दिवसका अवसरमा विभिन्न विभूषण प्रदान गर्नेगर्छ । उहाँलाई पनि सरकारले उच्च सम्मान गर्नुपर्छ र यसका लागि आफ्नो तर्फबाट पहल हुन्छ ।”
बुढामगरले हिमाल चढ्न सुरुमा अनुमति लिन जाँदा नदिएको स्मरण गर्दै आज सम्मान पाउँदा खुसी लागेको बताए । उनले आफ्नो आरोहणसँगै विश्वमा नै नेपालमा शारीरिक अशक्त भएकालाई पनि हिमाल आरोहणका लागि स्वागत छ भन्ने सन्देश गएको बताए । शारीरिकरूपमा अशक्त भएका व्यक्तिलाई अझै जीवन र केही नयाँ गर्न आँट र इच्छाशक्ति चाहिन्छ भन्ने सन्देश गएको बुढामगरको भनाइ थियो ।
उनले भने, “आज सम्मानित हुन पाउँदा निकै खुसी छु । यो मेरो मात्र नभई सम्पूर्ण अपाङ्गता भएका व्यक्तिको सम्मान हो । नेपालमा सबैलाई स्वागत छ भन्ने कुरा यहाँबाट सन्देश गएको छ । पहिला प्रतिबन्ध हुँदा नेपालमा स्वागत छैनजस्तो म्यासेज गएको थियो, यसले सबैलाई स्वागत छ भन्ने कुराको सन्देश दिएको छ । आफ्नो आरोहणले नेपालमा भएका र संसारमा अपाङ्ग भएका व्यक्तिले जिन्दगी सकिएको छैन, केही न केही गर्न सकिन्छ भन्ने सन्देश गएको छ ।”
बुढामगरले यही जेठ ५ गते दिउँसो ३ सगरमाथाको चुचुरोमा पाइला टेक्नुभएको हो । यससँगै पूर्वगोर्खा सैनिक बुढामगर सगरमाथाको चुचुरो चुम्ने पहिलो ‘डबल एम्प्युटी एभोब नी (घुँडा माथिबाट दुवै अङ्गविच्छेदन)’ व्यक्तिको नयाँ विश्व रेकर्ड कायम गरेका छन् ।
(प्रोस्थेटिक) कृत्रिम खुट्टाको सहायताले बुढामगरले सगरमाथा आरोहण गर्नुभएको हो । झण्डै पाँच वर्षको प्रयासपछि बुढामगरले सगरमाथाको सफल आरोहण गरेका थिए । रोल्पाको थबाङ गाउँपालिकाको मिरुल घर भएका बुढामगरले ब्रिटिस सेनामा रहँदा अफगानिस्तानको लडाइँमा सन् २०१० मा आफ्ना दुवै खुट्टा घुँडाभन्दा माथिबाट गुमाएका थिए । |
सगरमाथा आरोहण गर्दा ज्यान गुमाएका दुई विदेशी नागरिकको शव फेला सोलुखुम्बु । सगरमाथा आरोहणको क्रममा ज्यान गुमाएका दुई जनाको शव फेला परेको छ । जेठ ५ गते सगरमाथा आरोहणको क्रममा मृत्यु भएका मलेसियाका ५६ वर्षीय अग अस्कन्ड्रा बिन अम्पुआन याकूब र वैशाख ३१ गते मृत्यु भएका मालडवाका ४६ भिक्टर व्रिन्चको आज शव फेला परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
फेला परेका शवमध्ये मलेसियन नागरिक याकूबको हेलिकप्टरमार्फत् उद्धार गरी काठमाडौं पठाइएको छ । मालडवाका नागरिक व्रिन्चको शव उद्धार गर्न बाँकी रहेको प्रहरीको भनाइ छ । |
‘नक्कली शरणार्थी प्रकरणमा आईजीपी कुँवरको संलग्नता छैन’ काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरको संलग्नता नरहेको आईजीपीको सचिवालयले जनाएको छ ।
बुधबार सचिवालयका प्रहरी नायव महानिरीक्षक एवं केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कडायतले प्रेस विज्ञप्ति जारी गर्दै कुनै दुई व्यक्तिले गरेको संवादकै आधारमा शरणार्थी प्रकरणका आरोपितबाट प्रहरी प्रमुख स्वयंले नै आर्थिक फाइँदा लिएको भन्ने अतिशयोक्ति तथ्य स्थापित गर्न खोजी आइजीपीलाई विवादमा तान्नु निन्दनीय रहेको जनाएको छ ।
‘काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका तत्कालीन प्रमुख (हाल प्रहरी महानिरीक्षक) वसन्त बहादुर कुँवरले नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणको मुद्दाका आरोपितहरूसँग सम्पर्क रहेको, पूर्वगृहमन्त्रीलाई जोगाउन प्रयास गरेको लगायतका काम गरेको भन्दै समाचार सम्प्रेषण गरेको पाइयो,’ विज्ञप्तिमा लेखिएको छ, ‘कुनै आधार, तथ्य र प्रमाणबिना अपराध अनुसन्धान जस्तो संवेदनशील विषयमा सम्प्रेषण गरिएको समाचारले जनमानसमा भ्रम सिर्जना हुन जाने र नेपाल प्रहरी संगठनकै विश्वसनीयता, छवि तथा चेन अफ कमाण्डमा समेत आँच आउने हुँदा उक्त समाचारहरूप्रति नेपाल प्रहरी प्रधान कार्यालय पूर्ण असहमति प्रकट गर्दछ ।’
नक्कली शरणार्थी प्रकरणमा नेपाल प्रहरीले सफल अनुसन्धान गरी मुद्दा पेश गरिसकेको अवस्थामा कल्पित रूपमा समाचार बनाइ आरोपित भगाउन प्रहरी महानिरीक्षक नै संलग्न भएको भनी प्रचारबाजी गरिनु संगठनकै लागि दुःखद् रहेको समेत विज्ञप्तिमा उल्लेख छ । |
टेलिकमले भन्यो- जागिर खुलेको छैन, भ्रममा नपर्नू काठमाडौं । नेपाल टेलिकमका विभिन्न शाखाहरूमा ‘भ्याकेन्सी’ खोलिएको भन्दै गलत सूचना फैलिएकाले नेपाल टेलिकमले भ्रममा नपर्न आग्रह गरेको छ । टेलिकमले बुधबार एक विज्ञप्ति जारी गर्दै उक्त कुरा बताएको हो ।
‘केही दिन यता नेपाल टेलिकमका विभिन्न शाखाहरुमा काम गर्न भ्याकेन्सी खोलिएको भनेर कम्पनीका पदाधिकारीहरुको नाम समेत जोडी विभिन्न फेसबुक ग्रुप र म्यासेन्जर तथा ह्वाट्सएप लगायतका सामाजिक सञ्जालमार्फत गलत सूचना प्रवाह भएको सम्बन्धमा कम्पनीको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
कर्मचारी आवश्यकता सम्बन्धी सूचना गोरखापत्र तथा कम्पनीको वेबसाइटमा मात्र आधिकारिक रुपमा सार्वजनिक गर्ने कम्पनीको भनाइ छ । |
लुम्बिनी प्रदेशसभाको अधिवेशन आह्वान, शुक्रबार बैठक बस्ने दाङ । लुम्बिनी प्रदेशसभाको दोस्रो अधिवेशन आह्वान गरिएको छ । प्रदेश प्रमुख अमिक शेरचनबाट प्रदेशसभाको दोस्रो अधिवेशन १२ जेठ शुक्रबार दिउँसो १ बजे प्रदेशसभा भवनमा बस्नेगरी आह्वान भएको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए ।
‘नेपालको संविधानको धारा १८३ को उपधारा (१) र धारा १६६ को उपधारा (२) बमोजिम माननीय प्रदेश प्रमुख श्री अमिक शेरचनज्यूबाट लुम्बिनी प्रदेशसभाको दोस्रो अधिवेशन सम्वत् २०८० साल जेष्ठ १२ गते शुक्रवार दिनको १३ः०० बजे प्रदेशसभा भवन, राप्ती उपत्यका (देउखुरी) मा बस्ने गरी आह्वान भएकोले लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम ३ को उपनियम (१) बमोजिम माननीय सदस्यज्यूहरुको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ,’ सचिव मगरले जारी गरेको सूचनामा उल्लेख छ ।
|
उखु किसानको अनुदान रकम भुक्तानीका लागि प्रधानमन्त्रीसंग कुरा गर्ने बाबुरामको प्रतिबद्धता काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले उखु किसानको अनुदान बापतको रकम भुक्तानीका लागि प्रधानमन्त्रीसंग कुरा गर्ने प्रतिबद्धता जनाएका छन् ।
बुधबार काठमाडौंको माइतिघरमा धर्नामा बसेका उखु किसानहरुसंगको भेटपछि भट्टराईले विश्वमा नै किसानहरुलाई अनुदान दिने प्रचलन रहेकोमा नेपालमा पनि सरकारले यसअघि नै घोषणा गरेको अनुदान वापतको रकम भुक्तानीका लागि प्रधानमन्त्रीसंग कुरा गर्ने प्रतिबद्धता जनाएकमा हुन् ।
आर्थिक वर्ष २०७१/७२ मा सरकारले रु २५ प्रति क्विन्टल अनुदान उखु किसानलाई दिने निर्णय गरेपनि हालसम्म नपाएको भन्दै कपिलवस्तु किसान संघ तथा उखु किसान संघर्ष समितिले धर्ना दिदै आएका छन् । भट्टराईले किसानहरुले सरकारबाट पाउनुपर्ने अनुदान नपाउदा बाहिरबाट आउने कृषिजन्य बस्तुसंग प्रतिष्पर्धा गर्न नसक्दा किसानहरु मारमा परेको बताए । उखु किसानलाई दिईने अनुदानमा भ्रष्टाचार हुनसक्ने देखिएको भन्दै यसमा गम्भीर हुनुपर्ने उनको भनाइ छ ।
उखु किसानहरुले सवै उखु किसानलाई अनुदानको व्यवस्था गर्नुपर्ने, कृषि उपजको सरकारले निर्धारण गरेको न्युनतम समर्थन मुल्य अनिवार्य रुपमा पाउने व्यवस्था मिलाउनुपर्ने माग गरेका छन् । |
स्थानीय सरकारका एक वर्षः विमानस्थल निर्माणदेखि एकल पुरुषलाई भत्तासम्म गुल्मी। स्थानीय सरकारमा नयाँ जनप्रतिनिधिले शपथ ग्रहण गरेको एक वर्ष पुगेको छ । गत वर्षको वैशाख २९ गते सम्पन्न निर्वाचनमा विजयी उम्मेदवारले जेठ ६ गते शपथ लिएका थिए । यस अवधिमा जिल्लाका कतिपय पालिकाले उदाहरणीय काम गरेका छन् । पालिकाले नीतिगत निर्णय मार्फत नागरिकलाई रहत दिने प्रयास गरिरहेका छन् । रेसुंगा नगरपालिकामा प्रमुख र उप–प्रमुखले पदभार ग्रहण गर्दाको दिन जन्म र मृत्यु दर्ता प्रमाण–पत्र घर–घरमै पुर्याउने र विपन्न नागरिकको आँखाको निःशुल्क शल्यक्रिया गर्ने लगायतका निर्णय गरेका थिए ।
अहिले सो निर्णय कार्यान्वयनमा आएको छ । विपन्न नागरिकको मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ । यसका साथै नगरपालिकाले तम्घास बजारको रि–पिचको काम सुरु गरेको छ । रेसुङ्गा बिमानिस्थल सुचारु गरेको छ । माध्यामिक शिक्षा परीक्षा (एसइ) मा ३.२ जिपिए भन्दा बढी अंक ल्याउने विद्यार्थीहरुको लागि कक्षा ११ र १२ मा नगरपालिकाभित्रैका विद्यालयमा अध्ययन गर्दा मासिक चार हजार उपलब्ध गराउने निर्णय गरेको छ । भने रेसुंगा बहुमुखी क्याम्पसलाई एक करोड उपलब्ध गराएको प्रमुख खिलध्वज पन्थीले जानकारी दिए।
धुर्कोट गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षले पदभार ग्रहण गर्दाकै दिन प्रत्येक घरको बीमा गर्ने, गरिब, द्वन्द्वपीडित तथा विपन्न निश्चित विद्यार्थीको अध्ययन खर्च गाउँपालिकाले व्यहोर्ने एवम् अभिभावक गुमाएका बालबालिकालाई कक्षा १२ सम्म गाउँपालिकाले पढाउने निर्णय गरेका थिए । अहिले घरको बीमा गर्ने काम सञ्चालन भइरहेको छ ।
अभिभावक गुमाएका बालबालिकालाई पाञ्चायन माध्यमिक विद्यालयमा अध्यापनको व्यवस्था मिलाइएको पालिका अध्यक्ष भूपाल पोखरेलले बताए। त्यसका साथै पालिकाले धुर्कोट कोतमा भौतिक संरचना निर्माण, पदमार्ग निर्माण, सेउघा–सिमाघाट–बर्बोट सडकलाई पक्की गर्नेमा पहलकदमी लगायतका काम पनि गरेको छ ।
इस्मा गाउँपालिकाले कक्षा १२ सम्म मासिक शुल्क नलिने गरी निर्णय गरेको छ । यसभन्दा पहिले कक्षा १० सम्मका परीक्षा शुल्क छुट गरिएको अहिलेका जनप्रतिनिधिले कक्षा ११ र १२ को मासिक शुल्कसमेत छुट गरेका हुन् । शिक्षिका सुत्केरी भएमा वा एक हप्तासम्म शिक्षकको उपस्थिति नरहेमा स्वयम् सेवक शिक्षकमार्फत शिक्षकको परिपूर्ति गर्ने व्यवस्था पालिकाले मिलाएको छ ।
नागरिकको सहजताका लागि पालिकाको कार्यालयमा नागरिक सहायता कक्षको स्थापना गरिएको छ भने सबै नागरिकको मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया गर्ने व्यवस्था मिलाइएको अध्यक्ष भगतसिंह खड्काले बताए। इस्माले ५५ वर्षभन्दा माथिका एक पुरुषलाई भत्ता दिएको छ ।
चन्द्रकोट गाउँपालिकाले एक वर्षको अवधिमा पालिकालाई पूर्णखोप सुनिश्चित पालिका घोषणा गरेको छ । विपन्न ९८ परिवारलाई निःशुल्क मिटर बक्स उपलब्ध गराएको छ । चन्द्रकोट उज्यालो पालिका घोषणा गर्ने अन्तिम तयारीमा रहेको छ भने शान्तिपुर स्वास्थ्य चौकीमा मेडिकल अफिसरस्तरको डाक्टरमार्फत सेवा प्रवाह भइरहेको प्रवक्ता घनश्याम खरेलले बताए।।
विपन्न नागरिकलाई ५० प्रतिशत छुटमा स्वास्थ्य बीमा गराउने कार्यक्रमअन्तरगत हालसम्म तीन सयभन्दा बढीले सेवा लिएको गाउँपालिकाले जनाएको छ । पालिकामै सुत्केरी हुन नसक्ने महिलाका लागि पनि पालिकाले निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ भने एउटा निःशुल्क स्वास्थ्य शिविर पनि सम्पन्न गरेको छ । |
लक्ष्यभन्दा कम राजस्व असुली झापा। आन्तरिक राजस्व कार्यालयले लक्ष्य अनुसारको राजस्व संकलन गर्न नसकिएको जनाएको छ।
जिल्लाका उद्योगधन्दा, कलकारखाना तथा व्यापार व्यवसायमा आएको मन्दीको असर राजस्वमा पनि परेको कार्यालयका प्रमुख कर अधिकृत सुभप्रसाद रिजालले बताए। उक्त कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा रु दुई अर्ब ८५ करोड ३५ लाख ५० हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकामा रु दुई अर्ब २६ करोड ४८ लाख ८० हजार राजस्व संकलन भएको उनले जानकारी दिए।
प्रमुख कर अधिकृत रिजालका अनुसार संकलन भएको रकममध्ये करिब रु एक करोड ५० लाख विगत वर्षको पूर्वअनुमानित आयविवरण तथा दाखिला गरेको करको अंक फरक परेका (मिसम्याच) करदाताबाट संकलन भएको थियो ।
मूल्य अभिवृद्धि करबाट रु ७६ करोड १२ लाख ५५ हजार र अन्त शुल्कबाट रु ३७ करोड ३६ लाख १७ हजार राजस्व संकलन गरिएको थियो। प्रमुख करअधिकृत रिजालले मूल्य मूल्य अभिवृद्धि कार र अन्तशुल्कतर्फसमेत लक्ष्यअनुसार राजस्व संकलन नभएको बताए।
“सबै क्षेत्र आर्थिक संकटमा चुलिएको छ”, उनले भने, “त्यसको प्रत्यक्ष असर राजस्वमा पनि देखियो।” जिल्लामा आन्तरिक राजस्व कार्यालयको मुख्य करको स्रोत भनेको उद्योगधन्दा, व्यक्तिगत फार्म र व्यापारी नै रहेका प्रमुख करअधिकृत रिजालले जानकारी दिए।
आर्थिक मन्दीको असर झापामा मात्र नभएर देशभरकै आन्तरिक राजस्व कार्यालयमा परेको उनको भनाइ थियो। उक्त कार्यालय मतहातमा ५४ हजार बढी करदाता छन्। – रासस |
रासायनिक मल आपूर्ति भएपछि किसान उत्साहित डुम्रे। तनहुँ जिल्लामा रासायनिक मल आपूर्ति भएपछि किसान उत्साहित भएका छन्।
व्यास नगरपालिका–१ का मीनबहादुर दरैले मल आएपछि यसपाली त बालीनाली राम्रो हुने आशा जागेको बताए। “मल आएको छ भन्ने थाहा पाएपछि हतारमा अन्य काम छाडेर मल लिन दौडिएँ, कम नै भए पनि मल पाएपछि थोरै थोरै गरी हाल्ने र फसल लाग्ने बेलाको धान, मकैमा राम्रो फसल लाग्ने आशा जागेको छ”, उनले भने।
नवीन उपभोक्ता सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित रासायनिक मलको सुपथमूल्य पसलमा लाइनमा बसी मीनबहादुरले झैँ अन्य किसानले पनि मल लिएका छन्। मलको अभावले आत्तिएका किसानले कमै मात्रामा मल पाउँदा पनि राहत मिलेको बताए।
कृषि सामग्री कम्पनी लिमिटेड तनहुँ शाखामा केही दिन अगाडि मात्रै अनुदानको एक हजार तीन सय ३१ मेट्रिकटन रासायनिक मल आएपछि वितरण थालिएको कम्पनीले जनाएको छ। जिल्लामा आपूर्ति भएको रासायनिक मल पालिकाले सिफारिस गरेको सहकारीमार्फत बिक्रीका लागि केही स्थानमा पठाइसकिएको छ भने केहीमा लिन आउने क्रम जारी रहेको लिमिटेडका शाखा प्रमुख दिनेश शर्माले जानकारी दिए।
चालु आर्थिक वर्षको जेठ ९ गतेसम्ममा जिल्लामा आठ सय २७ मेट्रिकटन युरिया, चार सय ८३ मेट्रिकटन डिएपी र ६८ मेट्रिकटन पोटास बिक्री वितरणका लागि पठाइएको उनले बताए। हालसम्म कम्पनीले तनहुँ र लमजुङ जिल्लामा एक हजार तीन सय ७८ मेट्रिकटन रासायनिक मल बिक्रीका लागि पठाइसकेको छ।
कम्पनीले चालु आर्थिक वर्षको जेठ ९ गतेसम्म तनहुँका किसानलाई चार सय ८० मेट्रिकटन युरिया, तीन सय ५० मेट्रिकटन डिएपी र ३७ मेट्रिकटन पोटास बिक्री गरेकोे प्रमुख शर्माले बताए। उनका अनुसार यहाँबाट लमजुङका किसानका लागि दुई सय ६२ मेट्रिकटन युरिया, ८९ मेट्रिकटन डिएपी र १७ मेट्रिकटन पोटास विक्रीका लागि सहकारीमा पठाइएको छ।
उक्त शाखाले तनहुँलगायत लमजुङ र गोर्खा हेर्नुपर्ने हुन्छ। तनहुँ र लमजुङका लागि यस कार्यालयमा मल आपूर्ति हुने भए पनि गोर्खाका लागि ढुवानीकै क्रममा गोर्खा पठाउने व्यवस्था गरिएको छ।
तनहुँमा ९० बिक्रेता, लमजुङमा ४४ र गोर्खामा ६३ गरी कूल एक सय ५७ बिक्रेतामार्फत रासायनिक मल बिक्री वितरण हुँदै आएको छ। तनहुँका सबै पालिकामा मल वितरणका लागि बिक्रेता छन्। व्यास नगरपालिकामा २१, भानु नगरपालिकामा १९ र शुक्लागण्डकी नगरपालिकामा १३ बिक्रेतामार्फत मल बिक्री वितरण हुँदै आएको छ।
त्यस्तै लमजुङको राइनासकोट नगरपालिकामा १३ र सुन्दरबजार नगरपालिकामा १३ बिक्रेतामार्फत मल वितरण भइरहेको प्रमुख शर्माले जानकारी दिए। अनुदानको मल वितरण केन्द्रीय समितिको समन्वयमा मुलुकभरका किसानका लागि कूल १२ लाख मेट्रिकटन रासायनिक मल आपूर्ति गर्नुपर्नेमा वार्षिक चार लाख मेट्रिकटन मात्रै मल आपूर्ति आपूर्ति हुँदै आएको छ।
गण्डकी प्रदेशका लागि तीन प्रतिशत मल आपूर्ति हुने गरेको छ। उक्त परिमाणको रासायनिक मल ११ जिल्लाका किसानसमक्ष पुर्याउनुपर्ने अवस्था रहेको प्रमुख शर्माले बताए। गण्डकी प्रदेशको ११ जिल्लामध्ये नवलपुर जिल्लालाई बढी र त्यसपछि कास्की तथा तनहुँलाई अनुदानको मलको व्यवस्था हुने गरेको छ । यस पटक कूल पाँच सय ४३ दशमलव छ मेट्रिकटन मात्रै रासायनिक मल आपूर्ति भएको छ।
मुलुकभरका लागि नै कम रासायनिक मल आपूर्ति हुँदा समस्या भएकाले मलको कोटा वृद्धि गर्नुपर्ने अवस्था रहेको उनको भनाइ थियो।
“प्रदेशका लागि कम्तिमा आठदेखि १० प्रतिशतसम्म अनुदानको मल वृद्धि गर्नुपर्ने अवस्था भएकाले जिल्लाका राजनीतिक दल, नेतृत्व तहमा रहेको नेताले आपूर्ति बृद्धिका पहल गर्नुपर्ने हुन्छ”, प्रमुख शर्माले भने, “हाल रासायनिक मल प्रयोग नगरी उत्पादन नहुने भएको छ, सहरीकरणका कारण खेतीयोग्य भूमि सागुरिँदो अवस्थामा छ, खेतीयोग्य जमिन घट्दो र उत्पादन बढी लिन खोज्दा बर्सेनि माग बढ्दै गएको हो।”
स्थानीय तहको सिफारिसमा सहकारीमार्फत मल बिक्रीका लागि पठाइने गरिएको छ। उपप्रमुख/उपाध्यक्षको संयोजकत्वमा कृषि शाखा अधिकृत, प्रशासकीय अधिृकत संलग्न रहेको समितिमार्फत सिफारिसमा परेका सहकारीले रासायनिक मल बिक्री वितरण गर्दै आएका छन्।
किसानबाट बढी मूल्य तिर्नुपरेको भन्ने गुनासो आइरहेकाले तोकिएको मूल्यमा मल बिक्री वितरण गरिएको छ वा छैन भन्ने विषयमा स्थानीय तहले चासोका साथ अनुगमन गर्नुपर्ने अवस्था रहेको कार्यालयले जनाएको छ। आगामी वर्षका लागि तीन हजार मेट्रिकटन युरिया, एक हजार मेट्रिकटन डिएपी र एकसय ५० मेट्रिकटन पोटास आवश्यक रहेकाले आपूर्तिका लागि पहल गर्नुपर्ने अवस्था रहेको उनले बताए।
सरकारले पर्याप्त बजेट विनियोजन नसक्दा बर्सेनि मलको अभाव हुने गरेको छ। सरकारले पैसामा अनुदान दिने गर्दै आएकामा परिमाणमा अनुदान दिने व्यवस्था गरे मुलुकमा आवश्यक मल आपूर्ति सहज हुनेछ। पैसामा अनुदानको घोषणा गर्दा मूल्यमा हुने उतारचढावले समस्या हुने गरेको सरोकारवालाले बताए। |
मनाङमा वैशाखमा मात्रै तीन हजार दुई सय पर्यटकले गरे भ्रमण मनाङ। हिमाली जिल्ला मनाङमा नयाँ वर्ष २०८० को पहिलो महिनामा सबैभन्दा बढी इजरायलका पर्यटकले भ्रमण गरेका छन् । जोखिमयुक्त पदमार्गमध्ये विश्वकै १०औँ स्थानमा पर्ने अन्नपूर्ण पदमार्गमा इजरायली पर्यटकले भ्रमण गरेका हुन् ।
नेपाल आउने पर्यटकमध्ये अधिकांश पर्यटक यहाँ पुग्ने गरेका छन् । जिल्लामा वर्षको पहिलो महिनामा सबैभन्दा बढी इजरायलका नागरिकले भ्रमण गरेका अन्नपूर्ण क्षेत्र संरक्षण क्षेत्र आयोजना(एक्याप)का तमकाशी गुरुङले जानकारी दिए। उनका अनुसार पाँच सय ५१ इजरायली नागरिकले मनाङ भ्रमण गरेको तथ्यांकमा उल्लेख छ ।
त्यस्तै, तीन सय ४९ फ्रान्सका नागरिकले भ्रमण गरेका छन् । रसियन तीन सय ३२, युनाइटेड किङडम –(युएस)का दुई सय दुई, युनाइटेड स्टेटस (युएस)का एक सय ९५, जर्मनीका एक सय ७७, अष्ट्रेलियाका एक सय ७३, भारतका एक सय २९, नेदरल्यान्डका एक सय २९ सहित ७३ देशका नागरिकले मनाङ भ्रमण गरेका अन्नपूर्ण क्षेत्र संरक्षण क्षेत्र आयोजना ९एक्याप०का प्रमुख लेखनाथ गौतमले जानकारी दिए।
उनका अनुसार वैशाखमा मात्रै ७३ राष्ट्रका एक हजार नौ सय ३० पुरुष र एक हजार तीन सय ५८ महिला तथा एक अन्य गरी कूल तीन हजार दुई सय ८९ नागरिकले मनाङ भ्रमण गरेका छन् । “विगतमा कोभिड–१९ को सङ्क्रमण र बाढीपहिराको जोखिमले गर्दा पर्यटकको आवागमन ठप्प रहेकामा अहिले चलायमान भएको छ”, प्रमुख गौतमले भने।
कोभिड–१९ को सङ्क्रमणपश्चात् सहज बनेको जनजीवनले गर्दा अहिले विश्वका पर्यटक नेपाल आउने क्रम जारी छ । विभिन्न देशका नागरिक नेपाल भित्रिने क्रममा विशेषगरी मनाङको अन्नपूर्ण पदमार्ग यात्रामा अउने गरेका छन् । विश्वकै जोखिम पदमार्गका रुपमा परिचित यहाँ यात्राका लागि विदेशी पर्यटक विशेषगरी आउने गरेको एक्यापका प्रमुख गौतमले बताए।
विगतमा एक पनि मनाङको जोखिम स्थलमा भ्रमण आउने पर्यटकलाई समस्या हुने गरेको थियो । अहिले बर्सात समय सुरुआत भएकाले पदमार्गको यात्रा गर्दा सम्भाव्य जोखिमका बारेमा जानकारी गराएर पठाउने गरेको गौतमले बताए।
“पर्यटक एक्लै यात्रामा जाँदा बिरामी पर्ने, हराउने र जोखिम क्षेत्रमा खोजी कार्य गर्न समस्या भएपछि नेपाल सरकारले गाइड बिना यात्रामा जान रोक लगाएको छ, अहिले गाइड लिएर मात्रै पर्यटक आउने वा यात्रा गर्ने गरेका छन्”, उनले भने, “यो प्रावधानले हामीलाई पनि सहज भएको छ ।”
गाइड भएपछि सूचना पाउन सहज भएको उहाँले बताउनुभयो । यात्राका क्रममा पर्यटक बिरामी परेको खण्डमा गाइडको सहयोग हुने हुँदा सहज हुने गरेको पर्यटक बताउँछन् । पर्यटकको आवागमन बढेपछि मनाङका होटल तथा पर्यटन व्यवसायीमा खुसी छाएको छ । केही समयअगाडि मात्रै मनाङ पर्यटकको आवागमन बढेसँगै होटल पाउन सकस भएको पर्यटन व्यवसायी विनोद गुरुङले बताउनुभयो । पर्यटक वृद्धि हुँदा मनाङको आयस्तरसमेत बढी हुने गरेको छ।
पर्यटक हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्नाका साथै मनाङबाट थोराङ्ला पास गरी मुस्ताङ र कोही पोखरा जानका लागि अन्नपूर्ण पदमार्गमा पर्यटक आउने गर्छन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङ्गे चौतारामा रहेको छ।
अन्नपूर्ण पदमार्गमा लमजुङसहित मनाङ, मुस्ताङ, म्याग्दी र कास्की गरी पाँच जिल्ला जोडिएका छन् । काठमाडौँदेखि बेँसीसहरसम्म सवारीसाधनमा पर्यटक आउने गर्दछन् । पदमार्गमार्फत मनाङका विभिन्न स्थानको अवलोकनसहित यात्रामा जाने गरेका छन् ।
|
अन्नपूर्ण आधार शिविरमा ‘पञ्चकुण्ड ताल’को छुट्टै आकर्षण बेनी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा अवस्थित नर्थ अन्नपूर्ण आधार शिविरमा रहेको ‘पञ्चकुण्ड ताल’ले पर्यटकलाई आकर्षित गर्ने गरेको छ।
समुद्री सतहबाट चार हजार एक सय मिटर उचाइमा करिब २० हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको यो ताल अन्नपूर्ण हिमाल आरोहण र आधार शिविरको भ्रमणमा जाने पर्यटकको मुख्य आकर्षणको केन्द्र बनेको छ।
यस क्षेत्रमा पुग्ने पर्यटक हिमालको फेदीको उपत्यकामा आकाशे निलो रङको पानीले भरिएको तालको अवलोकन गर्दा मोहित भएर फर्कने गरेका छन्।
पहिलोपटक आधार शिविर पुगेका अन्नपूर्ण गाउँपालिका-७ हिस्तानका प्रदीप पुनले हिमालकै फेदीमा प्राकृतिक सुन्दरताको छटाले भरिएको पञ्चकुण्ड ताल अवलोकन गर्दा पैदलयात्राका सबै दुःख बिर्साएको बताए।
“आधार शिविरबाट वरिपरि घेरिएको हिमाल, हिमालको फेदीमा यति विशाल ताल, हिमतालकै वरपर वर्षौँदेखि जमेका हिउँको ग्लेसियरका अनौठा आकृति, एउटै आकाशे रङमा देखिने तालको पानी नियाल्दा समय बितेको पत्तै नहुने रहेछ”, उनले भने।
ग्लेसियर क्षेत्रमा फैलिएको यो हिमताल हिउँदयाममा विभिन्न पाँच कुण्डको आकृतिमा देखिने भएकाले कुण्डको नाम पञ्चकुण्ड नामकरण गरिएको नारच्याङका पर्यटन व्यवसायी तेज गुरुङले बताए।
उनका अनुसार सन् १९५० तिर हिमाल आरोही लिएर आएका शेर्पाहरूले यसको नाम डिकिचो ताल भनेर नामकरण गरेका थिए। हिमालको फेदीमा उच्च उचाइमा रहेको कारण पानी जमिरहने भएकाले जम्ने तालको अर्थका रूपमा शेर्पाहरूले डिकिचो ताल नामकरण गरेको भएपछि स्थानीयवासीले तालको भू-बनोटका आधारमा पञ्चकुण्ड नामकरण गरेको गुरुङले जानकारी दिए।
नारच्याङबाट ‘मौरिस हर्जोग पदमार्ग’ हुँदै एकदेखि दुई दिनको यात्रामा पञ्चकुण्ड तालमा सजिलै पुग्न सकिन्छ। आधार शिविर क्षेत्रको भ्रमणमा जाने पर्यटकका लागि कुण्ड नै पहिलो र प्रमुख आकर्षणका रूपमा रहेको छ।
निलो रङले भरिएजस्तै देखिने पञ्चकुण्ड ताल परिसरबाट अन्नपूर्ण हिमालका साथै फ्रेन्क, तिलिचो र निलगिरि हिमालको मनमोहक दृश्य फन्को मारेर अवलोकन गर्न सकिन्छ।
वरिपरि हिमालले घेरिएको उपत्यकामा निलो तालको मनमोहक प्राकृतिक सौन्दर्य लोभलाग्दो रहेको आधार शिविर क्षेत्रमा पुगेका आन्तरिक पर्यटक धनीलाल गर्बुजाले बताए।
तालमा देखिने हिमालको छायाँ र उज्यालो बढ्दै जाँदा गाढा हुँदै जाने तालको पानीको निलो रङले पहिलोपटक पुग्ने जो-कसैलाई आश्चर्यमा पार्ने गर्बुजाले अनुभव सुनाए।
ताललाई धार्मिक गन्तव्यका रूपमा विकास गराउन शिवमन्दिर र गुम्बासमेत निर्माण गरिएको छ। हिमाल आरोहण र आधार शिविरको भ्रमणमा आउने पर्यटकले हिमालको मूलबाट संकलन भएको तालको पानीले स्नान गरेर शुद्ध भएर शिवमन्दिर र गुम्बामा पूजाआजा गर्दै आएका छन्।
पञ्चकुण्ड तालबाट निकास भएर जाने पानीमाथि पुल निर्माण गर्ने र सुरक्षितरूपमा अवलोकन गर्ने पूर्वाधार बनाउन पहल गरिने नर्थ अन्नपूर्णको प्रवद्र्धनका लागि आधार शिविर पुगेका अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए।
सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सका मौरिस हर्जोगले अन्नपूर्ण प्रथम हिमालको आरोहण गरेका थिए। हर्गोजले आरोहणका लागि आधार शिविर जान प्रयोग गरेको पदमार्गलाई पछ्याउँदै विसं २०६८ मा ‘मौरिज हर्जोग पदमार्ग’को पहिचान गरिएको थियो।
अन्नपूर्ण र निलगिरि हिमालको फेदीबाट बग्ने मिस्त्रीखोलाको किनारै किनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै नारच्याङको हुमखोलासम्म सवारीसाधन र त्यहाँबाट २२ किलोमिटर पैदलयात्रा गरेर आधार शिविर पुग्न सकिन्छ। |
महोत्तरीमा मिटरब्याजीविरुद्ध १७ सय उजुरी जलेश्वर। सरकारले मिटरब्याजीलाई कारबाही गर्न कानुन ल्याएसँगै महोत्तरीमा मिटरब्याजीविरुद्ध धमाधम उजुरी पर्न थालेको छ। जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेका अनुसार महोत्तरीमा हालसम्म मिटरब्याजीविरुद्ध एक हजार सात सय ३४ उजुरी दर्ता भएका छन्।
सरकारले अध्यादेश ल्याउँदै अनुचित लेनदेन (मिटरब्याज) गरेका व्यक्तिलाई कारबाही गर्ने भन्दै पीडितलाई जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराउन समय दिएपछि अहिले महोत्तरीमा मिटरब्याजीविरुद्ध उजुरी दर्ता गराउनेको संख्या बढ्दै गएको हो।
गत वैशाख १८ गतेदेखि पीडितले जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गर्न थालेका हुन्। यो क्रम जारी रहेको छ। जिल्ला प्रशासन कार्यालयले मिटरब्याजीविरुद्ध उजुरी दर्ता गराउन आउने पीडितका लागि सूचना संकलन गर्ने, परामर्श दिने र उजुरी दर्ता गर्ने काम गरिरहेको छ।
यसअघि जिल्ला प्रशासनले मिटरब्याजीविरुद्ध सरकारको उजुरी दर्ता गराउने अवधि किटान हुनु अगाडि पनि जिल्ला प्रशासन कार्यालयले मिटरब्याजीविरुद्ध तीन सय २१ ठाडो निवेदन दर्ता गरेर आवश्यक कारबाही प्रक्रिया अगाडि बढाएको थियो।
तीन सय २१ निवेदनमध्ये २१ वटामा मिलापत्र, ३८ वटामाथि छानबिन गरिसकेको र केही मुद्दा जिल्ला अदालतमा कारबाही प्रक्रियामा रहेको सहायक प्रजिअ न्यौपानेले बताए। जिल्ला प्रशासन कार्यालयमा आउने मिटरब्याजीपीडित बढीजसो जिल्लाको उत्तरवर्ती क्षेत्रका छन्। बढी ऋण दिने अनिरुद्ध साह, श्याम परदेशी र सञ्जय रौनियारविरुद्ध सबैभन्दा बढी उजुरी परेको बताइएको छ। – रासस |
अन्नपूर्ण आधार शिविरमा ‘पञ्चकुण्ड ताल’को छुट्टै आकर्षण बेनी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित नर्थ अन्नपूर्ण आधार शिविरमा रहेको ‘पञ्चकुण्ड ताल’ले पर्यटकलाई आकर्षित गर्ने गरेको छ। समुद्री सतहबाट चार हजार एक सय मिटर उचाइमा करिब २० हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको यो ताल अन्नपूर्ण हिमाल आरोहण र आधार शिविरको भ्रमणमा जाने पर्यटकको मुख्य आकर्षणको केन्द्र बनेको छ।
यस क्षेत्रमा पुग्ने पर्यटक हिमालको फेदीको उपत्यकामा आकाशे निलो रङको पानीले भरिएको तालको अवलोकन गर्दा मोहित भएर फर्कने गरेका छन्। पहिलोपटक आधार शिविर पुगेका अन्नपूर्ण गाउँपालिका–७ हिस्तानका प्रदीप पुनले हिमालकै फेदीमा प्राकृतिक सुन्दरताको छटाले भरिएको पञ्चकुण्ड ताल अवलोकन गर्दा पैदलयात्राका सबै दुःख बिर्साएको बताए।
“आधार शिविरबाट वरिपरि घेरिएको हिमाल, हिमालको फेदीमा यति विशाल ताल, हिमतालकै वरपर वर्षौँदेखि जमेका हिउँको ग्लेसियरका अनौठा आकृति, एउटै आकाशे रङमा देखिने तालको पानी नियाल्दा समय बितेको पत्तै नहुने रहेछ”, उनले भने।
ग्लेसियर क्षेत्रमा फैलिएको यो हिमताल हिउँदयाममा विभिन्न पाँच कुण्डको आकृतिमा देखिने भएकाले कुण्डको नाम पञ्चकुण्ड नामकरण गरिएको नारच्याङका पर्यटन व्यवसायी तेज गुरुङले बताए। उनका अनुसार सन् १९५० तिर हिमाल आरोही लिएर आएका शेर्पाहरूले यसको नाम डिकिचो ताल भनेर नामकरण गरेका थिए।
हिमालको फेदीमा उच्च उचाइमा रहेको कारण पानी जमिरहने भएकाले जम्ने तालको अर्थका रूपमा शेर्पाहरूले डिकिचो ताल नामकरण गरेको भएपछि स्थानीयवासीले तालको भू–बनोटका आधारमा पञ्चकुण्ड नामकरण गरेको गुरुङले जानकारी दिए।
नारच्याङबाट ‘मौरिस हर्जोग पदमार्ग’ हुँदै एकदेखि दुई दिनको यात्रामा पञ्चकुण्ड तालमा सजिलै पुग्न सकिन्छ। आधार शिविर क्षेत्रको भ्रमणमा जाने पर्यटकका लागि कुण्ड नै पहिलो र प्रमुख आकर्षणका रूपमा रहेको छ। निलो रङले भरिएजस्तै देखिने पञ्चकुण्ड ताल परिसरबाट अन्नपूर्ण हिमालका साथै फ्रेन्क, तिलिचो र निलगिरि हिमालको मनमोहक दृश्य फन्को मारेर अवलोकन गर्न सकिन्छ।
वरिपरि हिमालले घेरिएको उपत्यकामा निलो तालको मनमोहक प्राकृतिक सौन्दर्य लोभलाग्दो रहेको आधार शिविर क्षेत्रमा पुगेका आन्तरिक पर्यटक धनीलाल गर्बुजाले बताए। तालमा देखिने हिमालको छायाँ र उज्यालो बढ्दै जाँदा गाढा हुँदै जाने तालको पानीको निलो रङले पहिलोपटक पुग्ने जो–कसैलाई आश्चर्यमा पार्ने गर्बुजाले अनुभव सुनाए।
ताललाई धार्मिक गन्तव्यका रूपमा विकास गराउन शिवमन्दिर र गुम्बासमेत निर्माण गरिएको छ। हिमाल आरोहण र आधार शिविरको भ्रमणमा आउने पर्यटकले हिमालको मूलबाट संकलन भएको तालको पानीले स्नान गरेर शुद्ध भएर शिवमन्दिर र गुम्बामा पूजाआजा गर्दै आएका छन्।
पञ्चकुण्ड तालबाट निकास भएर जाने पानीमाथि पुल निर्माण गर्ने र सुरक्षितरूपमा अवलोकन गर्ने पूर्वाधार बनाउन पहल गरिने नर्थ अन्नपूर्णको प्रवद्र्धनका लागि आधार शिविर पुग्नुभएका अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए।
सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सका मौरिस हर्जोगले अन्नपूर्ण प्रथम हिमालको आरोहण गरेका थिए। हर्गोजले आरोहणका लागि आधार शिविर जान प्रयोग गरेको पदमार्गलाई पछ्याउँदै विसं २०६८ मा ‘मौरिज हर्जोग पदमार्ग’को पहिचान गरिएको थियो।
अन्नपूर्ण र निलगिरि हिमालको फेदीबाट बग्ने मिस्त्रीखोलाको किनारै किनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै नारच्याङको हुमखोलासम्म सवारीसाधन र त्यहाँबाट २२ किलोमिटर पैदलयात्रा गरेर आधार शिविर पुग्न सकिन्छ। |
धारापानीमा पर्यटकीय चहलपहल बढ्यो देउखुरी। बर्दियाको राजापुर नगरपालिका-३ की बिन्दु चौधरी दाङको घोराही-५ धारापानीमा भेटिइन्। बिदाको सदुपयोग गर्दै उहाँ यहाँ घुम्न आएकी हुन्। चौधरीले भनिन्, “धारापानी साह्रै राम्रो ठाउँ रहेछ, यहाँ आएर मन आनन्दित भयो।”
यस्तै तुलसीपुर-६ का यमलाल भण्डारीपनि साथीसँग धारापानी घुम्न आए। गर्मीमा शीतलता पाउने आशले उनी यहाँ आएका हुन्। पछिल्लो समय दाङको धारापानी आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ।
पाण्डवेश्वर महादेवधाम, धारापानी पर्यटकीय एवं धार्मिक क्षेत्र जोड्ने पुल निर्माण भएसँगै पर्यटकलाई सहज भएको छ। “बिदाको दिन परिवार र साथीभाइका साथ घुम्न आउनेको सङ्ख्या धेरै रहेको छ”, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेश अधिकारीले भने।
दसैं, तिहार, बिदाको समय र गर्मीमा शीतलताका लागि घुम्न आउनेको सङ्ख्या बढी छ। पूरै स्थल घुम्न लगभग एक घण्टा लाग्छ । प्राकृतिक मनमोहक स्थान भएकाले धारापानी सबैको रोजाइमा पर्न थालेको छ।
“यातायातको सुविधा र घोराही बजारको नजिकै भएका कारण पनि पर्यटक यहाँ आउन थालेका छन्”, अधिकारीले भने। शिवरात्रि र साउनको सोमबार भक्तजनको घुइँचो नै लाग्छ।
दैनिक पाँच सयभन्दा बढी आन्तरिक पर्यटक यहाँ आउने गरेका छन्। नजिकै सरयू गंगा बबई नदी र वरपर हरियाली वातावरण छ। धारापानीमा ५५ दशमलव पाँच फिट उचाइको पञ्चधातु मिश्रित त्रिशूल निर्माण गरिएको छ।
अन्य जिल्लाबाट पनि यहाँ घुम्न आउने गरेका छन्। यहाँ एक सय आठ शिवलिंग, एक सय आठ वरपिपल जोडी, एक सय आठ समीका वृक्ष, एक सय आठ तुलसीका मठ, ॐकार कुण्ड, पाण्डव शयनशिला र विभिन्न देवी-देवताका मन्दिर यहाँ रहेका छन्। दाङ उपत्यकाको अवलोकन धारापानीबाट गर्न सकिन्छ।
पाण्डवेश्वरधाम धारापानीको पर्यटन विकासका लागि विभिन्न पूर्वाधार निर्माण गर्न गुरुयोजना तयार भएको छ। गुरुयोजनाअनुसार हाल धामबाट करिब दुई किलोमिटर दक्षिणतर्फको डाँडामाथि सुनकोटडाँडासम्म सिँढी र मन्दिर निर्माण गर्न लागिएको अध्यक्ष अधिकारीले जानकारी दिए।
बृहत् गुरुयोजनामा धारापानी वरपरको वनक्षेत्र संरक्षण गर्ने, मन्दिरको उत्तरतर्फ करिब चार बिघा क्षेत्रफलमा नौका शयरका लागि ताल बनाउने, सुनकोटडाँडामा ३१ क्विन्टलको घण्ट निर्माण गर्ने योजना छ। सुनकोटमा षड्केश्वरी भगवती मन्दिर पुनःनिर्माण गर्न थालिएको छ।
धारापानीमा पञ्चधातुमिश्रित त्रिशूल निर्माण भएपछि पर्यटक बढीजसो आकर्षित भएका हुन्। पाण्डवेश्वर मन्दिर व्यवस्थापन समितिले भग्नावशेष अवस्थामा रहेको मन्दिरको संरक्षण गरेको छ। सुनकोटबाट दाङ उपत्यका, देउखुरीलगायत ठाउँ तथा हिमशृङ्खलासमेत स्पष्ट देख्न सकिन्छ।
पर्यटन विकासका लागि विभिन्न भौतिक पूर्वाधार निर्माण गर्ने काम गुरुयोजनाअनुसार अगाडि बढेको धाम व्यवस्थापन समितिका सचिव विष्णुराम आचार्यले जानकारी दिए। सुनकोटस्थित भगवतीको मन्दिरसम्म चार हजार नौ सय ६३ सिँढी बनाउने काम आर्थिक अभावले ओझेलमा परेको छ।
पाण्डवेश्वर मन्दिरभन्दा उत्तरतर्फको बबई नदीको छेउमा जलाशय बनाइएको छ। घोराही बजारबाट सो स्थान नौ किलोमिटर टाढा पर्छ । “आर्थिक अभावले गुरुयोजना अनुसारका काम अघि बढ्न सकेका छैनन्”, उनले भने। चुरे पहाडको फेदीमा अवस्थित धारापानी समुद्री सतहबाट छ सय ३३ मिटर उचाइमा छ। रासस |
बझाङको दौलीचौर केन्द्रविन्दु भएर भूकम्प काठमाडाैं। सुदूरपश्चिम प्रदेशको बझाङ दौलीचौर केन्द्रविन्दु भएर भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बझाङको दौलीचौर वरपर केन्द्रविन्दु भएर आज बिहान ४ बजेर ६ मिनेटमा चार दशमलव पाँच रेक्टर स्केलको भूकम्प गएको हो।
यसअघि पूर्वीरुकुमको हुकाम केन्द्रविन्दु भएर यही जेठ ७ गते बिहान चार दशमलव एक रेक्टरको भूकम्प गएको थियो।
पछिल्लोे समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी छ। नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ। |
काठमाडौं ‘भ्यू टावर’ १२ देखि १४ तला थप्ने तयारी उक्त टावर विसं २०७२ को भूकम्प अघि २९ तलाकै बनाउने भने पनि भूकम्प पछि १२ तलाको काम अघि बढाईएको थियो । अहिले १२ तलालाई बढाएर २४ देखि २६ तलासम्म बनाउने तयारी भइरहेको कामपा सार्वजनिक निजी साझेदारी एकाईका प्रमुख महेश काफ्लेले जानकारी दिए। उनका अनुसार कामपाको प्राविधिक टोलीले प्रतिवेदन अध्ययन गरेपछि कती तला थप्नेबारे यकिन हुनेछ।
हाल टावर निर्माण गरिरहेको कम्पनीले तला थपको लागि कामपालाई निवेदन दिनुपर्छ सोहीअनुसार कामपाले कानुनी प्रक्रिया पूरा गरी तला थपको लागि नक्सा स्वीकृत गर्नेछ। प्रमुख काफ्लेका अनुसार भूकम्प जानुअघि २९ तला नै बनाउने योजना थियो, भूकम्प गएसँगै तला घटाएर १२ बनाउने भन्दै सोहीअनुसार निर्माणको काम अघि बढाइएको हो।
“हालसम्म निर्माण भएको संरचना कस्तो निर्माण भएको छ, निर्माण सामग्री कस्तो प्रयोग गरेको छ, तला थप्न मिल्छ कि मिल्दैन जस्ता विषयबारे पुल्चोक क्याम्पसले अभ्ययन गरेहो हो”, काफ्लेले भने।
स्तम्भ निर्माणको काम जलेश्वर, स्वच्छन्द र बिकोईले विसं २०७३ साउनदेखि सुरु गरेको हो। स्तम्भ निर्माणका लागि कामपा र जलेश्वर, स्वच्छन्द र बिकोई कम्पनीबीच विसं २०७१ फागुन २२ गते सम्झौता भएको थियो।
सम्झौताअनुसार पाँच वर्षभित्र ती कम्पनीले आफ्नो लगानीमा भवन बनाएर ३० वर्षसम्म भोगचलन गर्न सक्ने उल्लेख गरिएको छ। स्तम्भका लागि २३ रोपनी पाँच आना जग्गा छुट्याइएको छ। उक्त भ्यू टावर नेपाली कला संस्कृति झल्किने किसिमको हुने बताइएको छ।
कूल क्षेत्रफलको ४० प्रतिशत भूभागमा स्तम्भ बन्नेछ भने ६० प्रतिशत भाग खाली राखिने छ। ६० प्रतिशत जग्गामा आकर्षक बगैँचा, बस्ने ठाउँ तथा विभिन्न मनोरञ्जनका सामग्री राखिने योजनाअनुरुप निर्माणको काम अघि बढाइएको हो ।
टावरमा दुईतले भूमिगत पार्किङ हुनेछ। जसमा चार सय सवारी साधन अटाउनेछन्। भुइँतलामा मोटरसाइकल पार्किङ रहनेछ । टावरमा अत्याधुनिक सिनेमा हल रहनेछ । टावरमा बैंक तथा वित्तीय संस्थाहरू, स्वास्थ्य सेवा प्रवाह गर्ने स्थान, रेस्टुराँ तथा पुस्तकालय हुनेछ।
गत वैशाख २२ देखि निजी गाडी पार्किङ सुरु
निर्माणाधीन भ्यु टावरको बेसमेन्टमा गत वैशाख २२ गतेदेखि निजी सवारी साधनहरु पार्किङको काम सुरु गरिएको छ। अहिले चार पाङ्ग्रे साना सवारी साधन र दुई पाङ्ग्रे सवारी साधनहरु उक्त स्थानमा राख्ने गरिएको छ।
अहिले सुरुआती समयमा निःशुल्क पार्किङको व्यवस्था गरिए पनि केही दिनबाट थप व्यवस्थापनसहित शुल्क लिएर पार्किङको व्यवस्थापन मिलाइने बताइएको छ। प्रमुख काफ्लेका अनुसार चार सय साना सवारी साधन र एक हजार मोटरसाइकल अट्ने पार्किङ गत वैशाख २२ वैशाखदेखि नै सञ्चालनमा आएको हो।
अहिले पार्किङको समस्या निकै नै रहेकाले पूर्ण रुपमा निर्माणको काम सम्पन्न नभईकनै पार्किङ खुला गरिएको बताइएको छ। टावर निर्माणकै लागि विसं २०७२ साउनबाट बसपार्कलाई खुल्लामञ्चमा स्थानान्तरण गरिएको थियो। पाँच वर्षमा भ्यू टावर निर्माणको काम सम्पन्न गर्ने र साविकै बसपार्क रहेको स्थानबाट थप व्यवस्थित रूपमा सवारी साधनलाई आवतजावत गराइने भने पनि हालसम्म पनि उक्त टावरको निर्माणको काम भने सम्पन्न भएको छैन।
उक्त स्थानबाट काठमाडौँ उपत्यकाका विभिन्न १७ रुटमा चल्ने गाडीहरु आवातजावत गर्ने गरेका थिए। रासस |
काठमाडौँ ‘भ्यू टावर’ १२ देखि १४ तला थप्ने तयारी काठमाडौँ । निर्माणाधीन काठमाडौँ दृश्यावलोकन स्तम्भ ‘भ्यू टावर’ मा १२ देखि १४ सम्म तला थप्ने तयारी भइरहेको छ । साविक पुरानो बसपार्कमा निर्माण भइरहेको टावरको काम हालसम्म १२ तला सम्पन्न भइसकेको छ ।
१२औँ तला निर्माणबारे प्राविधिक जाँचका लागि पुल्चोक इञ्जिनियरिङ क्याम्पसले अध्ययन गरी प्रतिवेदन काठमाडौँ महानगरपालिकालाई बुझाइ सकेको अवस्था छ । प्रतिवेदनअनुसार निर्माण मापदण्डअनुसार नै काम भएको र थप लता थप्न सकिने जनाएकाले कामपाको प्राविधिक टोलीले उक्त प्रतिवेदको अध्ययन गरी तला थपको लागि अनुमति दिने तयारी गरेको छ ।
उक्त टावर विसं २०७२ को भूकम्प अघि २९ तलाकै बनाउने भने पनि भूकम्प पछि १२ तलाको काम अघि बढाईएको थियो । अहिले १२ तलालाई बढाएर २४ देखि २६ तलासम्म बनाउने तयारी भइरहेको कामपा सार्वजनिक निजी साझेदारी एकाईका प्रमुख महेश काफ्लेले जानकारी दिए । उनका अनुसार कामपाको प्राविधिक टोलीले प्रतिवेदन अध्ययन गरेपछि कती तला थप्नेबारे यकिन हुनेछ ।
हाल टावर निर्माण गरिरहेको कम्पनीले तला थपको लागि कामपालाई निवेदन दिनुपर्छ सोहीअनुसार कामपाले कानुनी प्रक्रिया पूरा गरी तला थपको लागि नक्सा स्वीकृत गर्नेछ । प्रमुख काफ्लेका अनुसार भूकम्प जानुअघि २९ तला नै बनाउने योजना थियो, भूकम्प गएसँगै तला घटाएर १२ बनाउने भन्दै सोहीअनुसार निर्माणको काम अघि बढाइएको हो । “हालसम्म निर्माण भएको संरचना कस्तो निर्माण भएको छ, निर्माण सामग्री कस्तो प्रयोग गरेको छ, तला थप्न मिल्छ कि मिल्दैन जस्ता विषयबारे पुल्चोक क्याम्पसले अभ्ययन गरेहो हो”, काफ्लेले भने ।
स्तम्भ निर्माणको काम जलेश्वर, स्वच्छन्द र बिकोईले विसं २०७३ साउनदेखि सुरु गरेको हो । स्तम्भ निर्माणका लागि कामपा र जलेश्वर, स्वच्छन्द र बिकोई कम्पनीबीच विसं २०७१ फागुन २२ गते सम्झौता भएको थियो । सम्झौताअनुसार पाँच वर्षभित्र ती कम्पनीले आफ्नो लगानीमा भवन बनाएर ३० वर्षसम्म भोगचलन गर्न सक्ने उल्लेख गरिएको छ । स्तम्भका लागि २३ रोपनी पाँच आना जग्गा छुट्याइएको छ । उक्त भ्यू टावर नेपाली कला संस्कृति झल्किने किसिमको हुने बताइएको छ ।
कूल क्षेत्रफलको ४० प्रतिशत भूभागमा स्तम्भ बन्नेछ भने ६० प्रतिशत भाग खाली राखिने छ । ६० प्रतिशत जग्गामा आकर्षक बगैँचा, बस्ने ठाउँ तथा विभिन्न मनोरञ्जनका सामग्री राखिने योजनाअनुरुप निर्माणको काम अघि बढाइएको हो । टावरमा दुईतले भूमिगत पार्किङ हुनेछ । जसमा चार सय सवारी साधन अटाउनेछन् । भुइँतलामा मोटरसाइकल पार्किङ रहनेछ । टावरमा अत्याधुनिक सिनेमा हल रहनेछ । टावरमा बैंक तथा वित्तीय संस्थाहरू, स्वास्थ्य सेवा प्रवाह गर्ने स्थान, रेस्टुराँ तथा पुस्तकालय हुनेछ ।
गत वैशाख २२ देखि निजी गाडी पार्किङ सुरु
निर्माणाधीन भ्यु टावरको बेसमेन्टमा गत वैशाख २२ गतेदेखि निजी सवारी साधनहरु पार्किङको काम सुरु गरिएको छ । अहिले चार पाङ्ग्रे साना सवारी साधन र दुई पाङ्ग्रे सवारी साधनहरु उक्त स्थानमा राख्ने गरिएको छ । अहिले सुरुआती समयमा निःशुल्क पार्किङको व्यवस्था गरिए पनि केही दिनबाट थप व्यवस्थापनसहित शुल्क लिएर पार्किङको व्यवस्थापन मिलाइने बताइएको छ । प्रमुख काफ्लेका अनुसार चार सय साना सवारी साधन र एक हजार मोटरसाइकल अट्ने पार्किङ गत वैशाख २२ वैशाखदेखि नै सञ्चालनमा आएको हो ।
अहिले पार्किङको समस्या निकै नै रहेकाले पूर्ण रुपमा निर्माणको काम सम्पन्न नभईकनै पार्किङ खुला गरिएको बताइएको छ । टावर निर्माणकै लागि विसं २०७२ साउनबाट बसपार्कलाई खुल्लामञ्चमा स्थानान्तरण गरिएको थियो । पाँच वर्षमा भ्यू टावर निर्माणको काम सम्पन्न गर्ने र साविकै बसपार्क रहेको स्थानबाट थप व्यवस्थित रूपमा सवारी साधनलाई आवतजावत गराइने भने पनि हालसम्म पनि उक्त टावरको निर्माणको काम भने सम्पन्न भएको छैन । उक्त स्थानबाट काठमाडौँ उपत्यकाका विभिन्न १७ रुटमा चल्ने गाडीहरु आवातजावत गर्ने गरेका थिए । |
चट्याङ लागेर अछाममा चार जना घाइते अछाम । अछाममा चट्याङ लागेर चार जना घाइते भएका छन् । अछामको कमलबजार नगरपालिका–१ मा गएराति हावाहुरी र वर्षासँगै परेको चट्याङ लागे ४ जना घाइते भएका हुन् ।
घाइते हुनेमा कमलबजार नगरपालिका–१ का १८ वर्षीया गिताकुमारी रावत बिष्ट, ३२ वर्षीय धिर्जा बजगाई, ३० वर्षीया सरस्वती बजगाई र ५० वर्षीया मोतिकला बजगाई रहेका छन् । घाइते मध्ये गिताको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि नेपालगन्ज रेफर गरिएको इलाका प्रहरी कार्यालय कमलबजारका प्रमुख प्रहरी निरीक्षक भास्कर चन्दले बताए ।
अन्य घाइते तीन जनाको अछाम जिल्ला अस्पतालमा उपचार भैरहेको छ । यस्तै चट्याङ लागेर एक भैसी पनि मरेको छ । केही घरमा पनि क्षति पुगेको बताइएको छ । |
सभामुख र प्रमुख प्रतिपक्षी दलको नेतालाई लिएर सुदूरपश्चिमका सिंगो मन्त्रिपरिषद् सिंहदरबारमा काठमाडौं। सुदूरपश्चिममा मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको टोलिले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठलाई भेटेको छ।
सुदुरपश्चिम प्रदेशका सभामुख भिमबहादुर भण्डारी तथा प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका निवर्तमान मुख्यमन्त्री साथै कृषि बाहेकका सबै मन्त्रीहरुसहित मुख्यमन्त्री शाहले आयोगका उपाध्यक्ष श्रेष्ठलाई भेटेका हुन्।
भेटमा मूख्यमन्त्री शाहले आगामी आर्थिक वर्षको बजेटमा सुदूरपश्चिम प्रदेशलाई विशेष प्राथमकितामा राख्न अनुरोध गरेका छन्। अथाह सम्भावनाहरु भएर पनि सुदरपश्चि पछाडि परेको भन्दै उनले आयोगको ध्यानाकर्षण गराए।
भेटमा आयोगका उपाध्यक्ष डा. श्रेष्ठले बजेटमा माग्न सिंहदरबार धाउनु पर्ने बाध्यता अब हटेको बताएका थिए। कुनै बेला काठमाडौं आउनका लागि भारतको बाटो प्रयोग गर्नु पर्ने बाध्यता रहेका सुदुरपश्चिम टाढा जस्तो लागे पनि अहिले सुदूरपश्चिम काठमाडौंको धेरै टाढा नरहेको सुनाए।
सुदूरपश्चिमलाई सरकारले ल्याएको नीति तथा कार्यक्रमले राम्रै समेटेको भन्दै बजेटले पनि राम्रै स्थान दिनेमा ढुक्क रहन उनले सुझाव दिए।
‘सिंहदरबारबाट सुदुरपश्चिम र कर्णालीका योजना बनाएर हुँदैन भनेर नै संघीयता आएको हो’ उनले भने, ‘त्यो कुरा हामी सबैले बुझ्नु पर्याे, सुदूर र कर्णालीका योजना सुदूर कर्णालीले नै बनाउने हो।’ |
राष्ट्रिय प्रशारणमा जोडिँदै ५३ किलोवाट विद्युत् सुर्खेत। त्रिपन्न किलोवाट क्षमताको खमारी खोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्लाई राष्ट्रिय प्रशारण लाइनमा जोड्न प्रक्रिया अघि बढाइएको छ। विसं २०६८ देखि सुर्खेत पश्चिमको बाबियाचौर क्षेत्रमा विद्युत् वितरण गर्दै आएको यस आयोजनाबाट उत्पादित विद्युत्लाई नेपाल विद्युत् प्राधिकरणले राष्ट्रिय लाइनमा समावेश गर्ने भएको हो।
बाबियाचौरमा विद्युत्को राष्ट्रिय प्रशारण लाइन पुगेसँगै उक्त आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रशारण लाइनमा जोड्न आवश्यक प्रक्रिया थालिएको आयोजनाका व्यवस्थापक पदमबहादुर बुढाले जानकारी दिए।
यहाँका अन्य स्थानीय जलविद्युत् आयोजना भने बन्द भएका छन्। तीन स्थानबाट विद्युत् उत्पादन गरेर बाबियाचौर र आसपासका क्षेत्रमा विद्युत् सेवा दिइरहेका साना जलविद्युत् बन्द गरिएको उनले बताए। बीस किलोवाट माथिका आयोजना राष्ट्रिय प्रशारणमा जोड्न सकिने संकेत विद्युत् प्राधिकरणले दिएपछि आवश्यक संरचना थप्ने गरी त्रिपक्षीय सम्झौता गरिएको छ।
विसं २०६५ मा बाबियाचौर लघुजलविद्युत सहकारीमार्फत खमारी खोला जलविद्युत् आयोजनाले विद्युत् उत्पादनको काम थालेको थियो। सोही खोलाबाट थप दुई वटा आयोजना पनि निर्माण गरिएकामा विद्युत् उत्पादन कम भएपछि बन्द गर्ने तयारी गरिएको ती आयोजनाले जनाएका छन्।
“तत्काल विद्युत्को राष्ट्रिय लाइन बाबियाचौर बजारको उत्तर र पूर्वतर्फका गाउँमा विस्तार नहुँदा केही समयसम्म सञ्चालन रहन्छन्,” व्यवस्थापक बुढाले भने, “५३ किलोवाटको आयोजनालाई नेट मिटरिङमार्फत राष्ट्रिय प्रशारण लाइनमा जोड्न आवश्यक पूर्वाधार निर्माणका लागि सम्झौता गरेर बोलपत्र गरिसकेका छौँ।”
राष्ट्रिय लाइनमा जोड्न नेपाल विद्युत् प्राधिकरणका कर्णाली प्रदेश प्रमुख शम्भु कुसियत यादव, उक्त आयोजनाका अध्यक्ष सुरेन्द्रबहादुर शाही र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच सम्झौता भएकोे छ। यसका लागि आवश्यक सबै पूर्वाधार निर्माणको खर्च भने आयोजना र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले व्यहार्ने उल्लेख छ।
लागत खर्चमा आयोजनाको २२.३५ प्रतिशत र केन्द्रको ७७.६५ प्रतिशत ( आयोजनाले रु १४ लाख र केन्द्रले ४८ लाख ६२ हजार ९३१) व्यहोर्ने आयोजनाका व्यवस्थापक बुढाले बताए।
राष्ट्रिय लाइनमा स्थानीयस्तरमा उत्पादित विद्युत् जडान गर्न २० किलोवाटभन्दा माथि उत्पादन क्षमता हुनुपर्ने भएकामा उक्त आयोजनाको पूर्णकालीन क्षमता ५३ किलोवाट भए पनि सुख्खा मौसममा ३५ देखि ४० र वर्षायाममा ५० किलोवाट विद्युत् उत्पादन भइरहेको छ।
“राष्ट्रिय प्रशारण लाइनका लागि हाम्रो क्षमता पुगेको छ । तर केही संरचना थप्नुपर्ने देखिएको छ,” आयोजनाका अध्यक्ष सुरेन्द्रबहादुर शाहीले भने। उनका अनुसार केही महिनामा नेट मिटरिङ सिस्टमका लागि आवश्यक पूर्वाधार निर्माण गरेर प्राधिकरणलाई विद्युत् बिक्री गर्ने गरी काम थालिने छ। आयोजनाले विद्युत् बिक्री गरेपछि खपतका आधारमा प्राधिकरणले शुल्क दिनेछ।
करिब चार सय घरधुरीमा करिब ११ वर्षसम्म बाबियाचौर क्षेत्रका उज्यालो दिएको चौर खोला लघु जलविद्युत् आयोजना बन्द गरिएको छ। चौबिस किलोवाट क्षमताको उक्त जलविद्युतपछि बाबियौचारमा थप तीन वटा जलविद्युत् सञ्चालनमा ल्याइएका थिए। खमारी खोला लघुजलविद्युत (क) बाट ५३ किलोवाट, (ख)बाट १५ किलोवाट र (ग) बाट १० किलोवाट विद्युत् उत्पादन गरिँदै आएको हो । तीन वटै आयोजनाबाट हाल करिब एक हजार तीन सय ८२ घरधुरी लाभान्वित छन्।
यी आयोजनाबाट पञ्चपुरी नगरपालिकाको चनाली, भावर, बरैचे, डाव, सिद्धपुर, चत्तुरे, चनाली, लाटीकाँडा, सालकोटलगायतमा विद्युत उपलब्ध गराइएको छ। ‘वषौँंसम्म पश्चिमका नागरिक विद्युत्को राष्ट्रिय पहुँच बाहिर थिए। “स्थानीय स्रोत साधनको उपयोगबाट जनतालाई सेवा गर्ने मौका पायौंँ,” उक्त आयोजनाका अध्यक्ष शाहीले भने।
“स्थानीय उत्पादनले ठूलो कलकरखाना प्रर्याप्त चलाउन सकस थियो। टुकीको सहारामा दैनिक गुजार्न बाध्य यहाँका बासिन्दालाई सकेसम्म उज्यालो बनाउने कोसिस गरेका थियौंँ। ढिलै भए पनि राष्ट्रिय प्रशारण लाइन जोडिएको छ, यसले केही थप आशा र उत्साह थपिदिएको छ,” उनले जोड दिए।
हाल प्राधिकरणले खमारी खोला र चौर खोला आयोजनाबाट विद्युत् प्रवाह भइरहेका पोल र तारबाट बाबियाचौर आसपासमा विद्युत् लाइन सञ्चालन गरेको छ। सुर्खेत पश्चिमकै विद्यापुर र लगाममा साना लघुजलविद्युत् र गुटुमा सोलार प्यानलबाट विद्युत्को पहुँच पुर्याइएको छ। लगामको तालागाउँमा २२ किलोवाट विद्युत् उत्पादनका लागि सर्भेक्षण भइरहेको छ। -रासस |
ओझेलमा ‘सुकौरा’ तुलसीपुर। तत्कालीन थारू राजा दंगीशरणले राज गरेको तुलसीपर–११ स्थित सुकौरा ओझलेमा परेको छ। सोही स्थानमा हेर्न आकर्षक संरचना बनेका छैनन्। प्रदेश सरकार र तुलसीपुर उपमहानगरपालिकाको लगानीमा त्यहाँ पाँच तलाको ‘भ्यूटावर’ मात्र बनेको छ।
त्यो बाहेक अन्य कुनै पनि संरचना छैनन्। बनेका संरचना पनि अलपत्र छन्। त्यहाँ दंगीशरण राजाको सालिक र हरित उद्यान बनेको छ। तर त्यो पनि अलपत्र छ। नाम हरित उद्यान भए पनि त्यही कहीँकतै हरियो देख्न पाइँदैन। निर्माण भएको उद्यानमा गरिएको तारबार पनि फालिएको छ।
उद्यानमा कहिलेकाहीँ गाईभैँसी चरनक्षेत्र पनि बन्ने गर्छ। त्यहाँ रोपिएको दुबो मरिसकेको छ। त्यही उद्यानमा दंगीशरण राजाको सालिक राखिएको छ। रु २५ लाख लगातमा त्यहाँ उद्यान र दंगीशरण राजाको प्रतिमा निर्माण भएको थियो।
त्यहाँ अहिले पर्यटकको संख्या पनि शून्य नै छ। ऐतिहासिक ठाउँ भएकाले त्यहाँ दैनिक भरिभराउ हुनुपर्ने हो, तर त्यस्तो हुन नसकेको स्थानीय नरबहादुर चन्दले बताए। “पहिले–पहिले अलिअलि आउँथे”, उनले भने, “तर अहिले एक जना पनि आउँदैनन्।”
दंगीशरण गाउँपालिका–३ चखौरमा थारू सङ्ग्रहालयमा निर्माण गरेपछि सुकौरा ओझेलमा परेको हो। चखौरामा थारू समुदायका ऐतिहासिक कुरा राखिएको छ। त्यसले गर्दा थारूका हरेक ऐतिहासिक कुरा हेर्न चखौरा जाने गर्दा सुकौरालाई निकै क्षति भएको कांग्रेस नेता तथा संविधानसभा सदस्य बुद्धिराम भण्डारीले बताए। त्यो सङ्ग्रहालय चखौरामा नभएर सुकौरामा बनाउन आवश्यक रहेको उनले बताए।
सुकौरामा बनाउनुपर्ने सङ्ग्राहलय चखौरा बनाउँदा निकै समस्या परेको उनको ठम्याइँ छ। सबैगरी अहिलेसम्म करिब रु छ–सात करोड बजेट चखौरामा गएको छ। तर सुकौरामा रु एक करोडभन्दा बढी बजेट अहिलेसम्म परेको छैन। अहिले चखौरामा अन्य संरचना निर्माणका काम भइरहेका छन्, तर सुकौरा शून्य छ।
सुकौराकोटको इतिहास
सुकौराकोटमा राजधानी बनाएर राज्य सञ्चालन गरेका दङ्गीशरणले सिकार खेलेको, नुहाएको र राजकाज गर्ने क्रममा कोटलगायतका संरचना अहिले पनि देख्न सकिन्छ।
राजकाज गर्ने समयमा दाङमा औलो लाग्ने भएकाले दंगीशरण राजा गर्मी छल्न जाने ठाउँलाई राजाकोट भन्ने गरिन्छ। सुकौराकोटबाट सिधै दक्षिणतर्फको चुरे पर्वतको सबैभन्दा अग्लो ठाउँमा गर्मीयाममा बस्ने भएकाले यसलाई राजाकोट भनिएको किंवदन्ती रहेको छ। त्यस्तै राजाको दरबार रहेको ठाउँबाट उत्तरमा पर्ने वनमा दंगीशरणले सिकार खेल्ने गर्थे।
दङ्गीशरण रानीवनका साथै दाङको पश्चिम मठौरीमा रहेको एक्ला पहाड, चुरे तथा महाभारत लेकमा सिकार गरेर फर्किने क्रममा आफ्नी रानीसँगै बुल्बुल्या तालमा नुहाएर सुकौराकोटमा फर्किने गरेको किंवदन्ती रहेको छ। दंगीशरण निःसन्तान रहेका र सन्तान प्राप्तिका लागि दंगीशरण र उनकी रानी बुल्बुल्या तालमा नुहाउने गरेका थिए।
हरेक वर्ष १ माघमा सन्तान प्राप्तिका बुल्बुल्या तालमा नुहाउने गरेको धार्मिक मान्यता छ। सोहीअनुसार सन्तान नभएका दम्पतीले नुहाउन आउने गर्दछन्। बुलबुल गरेर पानी निस्कने भएकाले उक्त ताललाई बुल्बुल्या भनिएको हो। बुल्बुल्या तालमा मासिक रक्तश्राव भएका महिलाले नुहाउन नमिल्ने भनिन्थ्यो। मासिक रक्तश्राव भएकाले नुहाए महिला बिरामी पर्ने गर्थे।
राजकाज गर्ने क्रममा जनताको पीरमर्का बुझ्न दंगीशरण दरबार बाहिर निस्केपछि रातगाउँस्थित जरुवाको पानी पिउने गरेको थारू अगुवा रामशरण चौधरीले बताए। अन्य राजारजौटाबाट आफ्नो सम्पत्ति जोगाउन राजा दंगीशरणले दंगीशरण गाउँपालिका–१, रहपुरस्थित चुरे पर्वतको फेदमा धन गाडेको भन्ने गरिन्छ।
त्यस ठाउँमा अहिले पनि ढुंगाजस्तो देखिने चिल्लो खालको प्राचीन रुपैयाँ र परापूर्वकालमा प्रयोग भएका माटाका भाँडा र इँटाका टुक्रा अवशेषका रूपमा देख्न सकिन्छ। राजा दंगीशरणले आफूसँग भएका पैसा सोही टापुमा गाडेकाले त्यसको नाम धनटाकुरा रहन गएको भन्ने जनविश्वास छ।
पशुपालन गर्दै दंगीशरण गाउँपालिका–१ रहरपुरस्थित चुरे पर्वतको फेदमा आइपुगेका गोपाल वंशका १२ जना ग्वालाले गाडेको लट्ठी उम्रेको इतिहासस्वरूप सालको रूख अहिले पनि देख्न सकिन्छ। गाईभैँसी चराउँदै आएका १२ ग्वालाले रोपेको रूख भएको सो ठाउँलाई ‘बार बर्दियन्हक लठ्ठा’ भन्ने गरिन्छ। बाह्र ग्वालाले आफूमध्येका एक जनालाई समूहबाट हटाएको र समूहबाट हटाइएका ग्वालाले रोपेको रूख पनि अहिलेसम्म जीवितै रहेको दाबी छ।
खेतीपातीका लागि पानी नपरे पूजा गर्ने ठाउँलाई ‘बैकरह्वा पर्वत’ भनिन्छ। पानी नपरेमा पानी पारिदिनका लागि ‘बैकरह्वा’ देवताको पूजा गरेपछि पानी पर्ने विश्वास छ। चुरे पर्वतअन्तर्गत दंगीशरण गाउँपालिका–१ मलई भन्ने स्थानमा उक्त बैकरह्वा देवता रहेका छन्। बैकरह्वालाई थारू जातिले इन्द्रदेवताका रूपमा पूजा गर्ने गरेका छन्।
विसं १९४२ मा दंगीशरण–४ बैवाङका रघुनाथ चौधरीकी श्रीमती सती गएको स्थानमा ‘सतीदेवी’ मन्दिर निर्माण गरिएको छ। उनी सती जाने बेला सतीप्रथा अन्त्य भइसकेको थियो। सती मन्दिर रहेको स्थानमा बबई नदी रहेको र सो स्थानमा ठूलो ताल रहेको जनाइएको छ। रघुनाथको मृत्यु भएपछि उनकी श्रीमतीले सती जाने इच्छा गरिन्। तर प्रहरी प्रशासनले रोक लगाए। तैपनि उनले पतिसँग सती गएरै छाड्ने अडान लिएको किंवदन्ती रहेको छ। – रासस |
तराईमा मेघ गर्जनसहित हावाहुरी, अन्नबालीमा असर महोत्तरी। मधेश प्रदेशमा मेघ गर्जनसहित चलेकाे हावाहुरीबाट अन्नबालीमा असर गरेकाे छ। मंगलबार बिहान करिब एक घण्टा चलेकाे हावाहुरीले अन्नबालीमा नोक्सान पुर्याएको किसानहरुले जानकारी दिएका छन्।
`फल लाग्ने बेला भएको मकैमा नोक्सान पुर्याएको छ’, बर्दिबास-९ का किसान राम नरेशले भने,`वर्षामात्र भएको भए नोक्सान हुदैनथ्यो, हावाहुरीले समस्या बनायो।’ अहिले पनि पानी परिरहेकाे छ।
वर्षा हुने समयमा हुरिबतास चल्नु जलवायु परिवर्तनको असर भएको विज्ञहरुको बुझाइ छ। मौसमको अनियमित फेरबदल र बेमौसमी हावाहुरी जलवायु परिवर्तनको कारक भएको जलवायुविज्ञ विराट पन्त बताउँछन्। अघिल्लो साता आएको हावाहुरीले पनि फल्दै गरेको आँप, लिची जस्ता फलफूल र बालीनालीमा असर पुर्याएको थियो।
महोत्तरीका किसानहरुले क्षतिपूर्तिको मागसहित जिल्ला कृषि कार्यालय, कृषि ज्ञान केन्द्र र सम्बन्धित स्थानीय तहमा ध्यानाकर्षण समेत गराएका थिए। तराईमा केही दिनदेखि गर्मी पनि अत्याधिक बढेको छ। केही वर्ष अगाडि र अहिलेको तुलना गर्दा गर्मीमा नै निकै ठूलो फेरबदलको महसुस गरिरहेको स्थानीयहरु बताउँछन्।
लामो समयदेखि खडेरी पर्ने र एकैचोटी वर्षा र हावाहुरी आउँदा किसानहरु समेत चिन्तित बनेका छन्। `पानी आउँदैन, आउन लाग्यो भने बौलाएर आउँछ, के हुन्छ भन्नेमा नै डर लागेर आउँछ’, बर्दिबास-३ का किसान द्रोण खड्काले चिन्ता व्यक्त गर्दै भने। |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.