content
stringlengths 20
64.1k
⌀ |
---|
भारतमा एक नेपालीको शव फेला धनगढी । भारतमा एक नेपालीको शव फेला परेको छ । अछामको मंगलसेन नगरपालिका वडा नम्बर १२ का गोपाल नाथ भारतमा मृत फेला परेका हुन् ।
भारतमा रहेकी पत्रकार ललिता विश्वकर्माले हरियाणा राज्यको रोहतक सहरमा काम गर्दै आएका नाथको शव फेला परेको बताएकी छन् ।
मृतकका आफन्तका अनुसार उनको हत्या गरिएको आशंका गरिएको छ । उनको शरीरमा चोट लागेको छ ।
व्यापारीहरूले नाथको हत्या गरेको परिवारका सदस्यको आरोप छ । उनको शव नदीमा फेला परेको थियो । हरियणा प्रहरीले उनको शव नदीबाट निकालेको छ । घटनाको थप अनुसन्धान जारी रहेको छ । |
म्याद सकिँदा पनि नगर अस्पताल भवनको काम सकिएन बागलुङ । आगामी आसर मसान्तमा तोकिएको समयसीमा सकिनलाग्दा नगर अस्पतालको पहिलो तला मात्रै ढलान भएको छ । निर्माण व्यवसायीको ढिलासुस्तीका कारण नगर अस्पतालको भवन समयमा निर्माण सम्पन्न नहुने भएको हो ।
लामो समय अलपत्र अवस्थामा रहेको अस्पताल भवनको काम धिमा गतिमा छ । बागलुङ नगरपालिकाले पटक–पटक ताकेता गर्दासमेत निर्माण व्यवसायीले कामको गति नबढाएको स्थानीयको गुनासो छ । निर्माण सम्झौताको २१ महिना बितिसक्दा कम्पनीले पहिलो तला मात्रै ढलान गरेको छ । दोस्रो तलाका लागि पिल्लर बनाउने काम सुस्त छ ।
पन्ध्र शय्याको अस्पताल भवन निर्माण गर्न श्री महालक्ष्मी जुगल जेभीसँग २०७८ असार २३ गते ठेक्का सम्झौता गरिएको थियो । रु १२ करोड ८७ लाखमा सम्झौता भएको भवनको ३५ प्रतिशत मात्रै भौतिक प्रगति भएको नगरपालिकाका इञ्जिनियर त्रिलोचन गिरीले बताए। भवन २०८० असार २० गतेसम्म सक्नुपर्ने सम्झौता छ । अस्पतालको प्रवेशद्वार, पार्किङलगायत साढे दुई तलाको लिफ्टसहितको अस्पताल निर्माण गर्ने ‘स्टिमेट’ छ ।
“यस्तो गतिले समयमा काम सकिँदैन, निर्माण समयमा सक्न निर्माण व्यवसायी जिम्मेवार हुनुपर्छ”, अनुगमनका लागि अस्पताल भवन निर्माणस्थल पुगेका जिल्ला समन्वय समितिका प्रमुख अमर थापाले भने, “अस्पताल भवन जस्तो महत्वपूर्ण भवन निर्माणमा ढिलाइ हुनु दुःखद हो ।” उनले निर्माण कम्पनीले प्राविधिक जनशक्तिको निगरानी बिना नै भवन निर्माणको काम गरिरहेकाले त्यसलाई तत्काल सच्याउन आग्रह गरे।
लामो समयको प्रयास र पहलपछि नगरपालिकाको नगर अस्पताल पैयुँपाटामा निर्माण सुरु भएको थियो । अस्पताल भवन निर्माण अघि बढे पनि निर्माण व्यवसायीले लापरबाही गर्दा काम सम्पन्न हुनेमा स्थानीय सशंकित छन् ।
भवनको काम छिट्टै सकाउन नगरका तर्फबाट सबै प्रयास भइरहेको नगर उपप्रमुख राजु खड्काले बताए। “व्यवसायीलाई ताकेता गरिरहेका छौँ, अस्पतालको सेवा थप गर्न डाक्टरको माग गरी पदपूर्ति गरे पनि डाक्टर बस्नु भएन, अरू प्रयास भइरहेका छन्”, खड्काले भने।
बागलुङ–१३ पैयुँपाटा स्वास्थ्यचौकीलाई नै नगर अस्पतालका रुपमा नामकरण गरिएको थियो । सरकारले प्रत्येक पालिकामा १५, १० र पाँच शय्याको आधारभूत अस्पताल निर्माण गर्ने लक्ष्यअनुसार स्वास्थ्यको पहुँचबाट टाढा रहेको नगरपालिकाको दक्षिण भेगलाई लक्षित गरी नगर अस्पताल निर्माण थालिएको भए पनि अस्पताल भवन निर्माणमा ढिलाइ हुनु र अस्पतालको स्वास्थ्य सेवा प्रभावकारी नहुँदा समस्या भएको छ ।
नगरपालिकाको रायडाँडा, पैयुँपाटा, अमलाचौर र नारायणस्थनका बासिन्दालाई अस्पताल निर्माणसँगै स्वास्थ्य सेवा लिन सहज हुनेछ । अस्पतालमा एमडिजिपीसहित तीन चिकित्सक आवश्यक रहे पनि अहिले मेडिकल अधिकृत राख्न नसकिएको नगर स्वास्थ्य शाखाले जनाएको छ । स्थानीयको नौ रोपनी जग्गा नगर अस्पतालका नाममा पास गरेपछि अस्पताल निर्माण अघि बढेको थियो । निर्माण कम्पनीले भने सडकको असुविधाका कारण समयमा काम गर्न नसकेको बताउने गरेको छ । |
घोराहीमा ९३ सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम, सिकाइ प्रभावकारी बन्दै दाङ । घोराही उपमहानगरपालिका–१८ स्थित श्री मावि रझेनामा कक्षा ५ मा अध्ययनरत सुदीप मगर दिवा खाजा खान पाउँदा खुसी छन्। आइतबार हलुवा, सोमबार चना, मङ्गलबार खीर, बुधबार चिउरा/पुलाउ, बिहीबार खिचडी/चिउरा शुक्रबार अण्डा खाने गरी विद्यालयले तालिका बनाएको छ । सोहीअनुसार दिवा खाजा खान पाउँदा उनी दङ्ग छन्।
सोही विद्यालयमा कक्षा ६ मा अध्ययनरत सम्झना नेपालीलाई खीर खाने दिनको तालिका आउँदा अरु दिनमा भन्दा अझ बढी खुसी लाग्छ । साथीहरुसँगै बसेर दिवा खाजा खान पाउँदा निकै खुसी हुन्छिन्। उनलाई खीर निकै मन पर्छ । “दिदी आज के नास्ता पाक्दै छ, आज हामीले के खाने हो? भन्दै बिहानैदेखि साना नानीबाबुहरु सोध्न आउछन्”, दिवा खाजा पकाउँदै आएकी सुन्तली चौधरीले भनिन्, “कतिपय बालबालिका दिउँसो नास्ता खान पाउने भएपछि पढ्न आउने गरेका छन् ।”
गाउँबाट विद्यालय आउने कतिपय बालबालिकाको घरको अवस्था नाजुक छ । जसका कारण दिवा खाजाको भरमा भोक मेट्नुपर्ने बाध्यता रहेको छ । दिवा खाजा कार्यक्रम लागू भएपछि धेरै बालबालिकाको विद्यालयमा नियमित उपस्थिति हुने गरेको विद्यालयको दाबी छ । कार्यक्रममले अभिभावकमा आर्थिक भार कम परेको छ भने विद्यार्थी नियमित विद्यालयमा उपस्थित हुने गरेका छन् ।
सो विद्यालयमा मन्टेश्वरी, अङ्ग्रेजी माध्यमको १ देखि ६ सम्मका तथा नेपाली माध्यमका १ देखि ६ कक्षासम्मका सातसय १५ बढी बालबालिकालाई दिवा खाजा खुवाउने गरिएको छ । कार्यक्रमले शैक्षिक गुणस्तर कायम गर्न निकै सघाउन पुगेको विद्यालयका प्रधानाध्यापक उद्धव न्यौपानेले बताए। “हामीले साना नानीबाबुलाई हात धुन, खाना खान, सरसफाइमा ध्यान दिने कुराको बारेमा सिकाएका छौँ ।”
सामुदायिक विद्यालयमा कार्यक्रम थप व्यवस्थित बनाउन भन्दै घोराही उपमहानगरपालिकाले शैक्षिक सत्रको सुरुआतबाटै कार्यक्रमको अनुगमन थालेको छ । उपमहानगर शिक्षा विकास समितिले विद्यमान अवस्थाको पहिचान गरी समस्या देखा परेको अवस्थामा सुधार गर्न अनुगमन सुरु गरेको हो ।
कतिपय सामुदायिक विद्यालयमा भर्ना भएका तर नियमित उपस्थित नहुने विद्यार्थीको नाममा पनि खाजा खुवाएको भन्नेलगायत विषयमा गुनासो आएको भन्दै पालिकाले स्थलगत अनुगमन गरेको शिक्षा समिति संयोजक तथा घोराही उपमहानगरका प्रवक्ता राममणि पाण्डेले जानकारी दिनुभयो ।
सामाजिक विकास महाशाखा प्रमुख विनोद गौतमले कार्यक्रम बालबालिकाका लागि निकै प्रभावकारी र उपयोगी पाइएको बताए। खाजा खाँदा बालबालिकाले व्यावहारिक ज्ञान आर्जन गर्नुका साथै जीवन उपयोगी सीप पनि सिक्ने अवसर पाएको बताए।
कार्यक्रम थप व्यवस्थित र नियमित तालिकाअनुसार बालबालिकालाई विद्यालयले खाजा उपलब्ध गराए नगराएको बारेमा अनुगमनपश्चात् प्रतिवेदन तयार पारेर काम गर्ने उपमहानगर शिक्षा महाशाखा प्रमुख नारायणप्रसाद पौडेलको भनाइ छ ।
घोराहीमा ९३ सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम लागू छ । घोराहीमा करिब १५ हजार बराबर विद्यार्थी छन् । वार्षिक एक सय ८० दिनको दिवा खाजा खुवाउने गरी कार्य तालिका बनाएर कार्यक्रम लागू गरिएको छ । गत आवमा करिब रु तीन करोड बराबरको दिवा खाजा कार्यक्रमका लागि बजेट आएको सामाजिक विकास महाशाखाका प्रमुख पौडेलले जानकारी दिए।
कार्यक्रमले विद्यार्थीको पढाइमा गुणस्तर वृद्धि भएको पालिका उपमेयर हुमा डिसीले बताइन्। “खाजा कार्यक्रम सञ्चालन भएपछि सामुदायिक विद्यालयमा विद्यार्थी नियमित भएका छन्, पहिलेको तुलनामा अहिले बजारका जङ्कफुड भित्रिएका छैनन्, खानपानमा प्रभावकारीता पर्दै आएको छ”, उनले भनिन्, “यो कार्यक्रम बालबालिकाको पोषण सुरक्षासँगै शैक्षिक लक्ष्य हासिल गर्ने माध्यम पनि हो ।”
यो आवका लागि पहिलो चौमासिकअन्तर्गत ५५, दोश्रो चौमासिकअन्तर्गत ८५ दिनको दिवा खाजा कार्यक्रमको रकम निकासा भईसकेको छ । अब असार मसान्तसम्मको एक सय ८० दिनको लक्ष्य भेट्ने गरी ४० दिन नियमितरुपमा दिवा खाजा खुवाउने कार्यक्रम छ ।
पालिकामा धार्मिक स्कुलका रुपमा रहेको वैदिक गुरुकुलका लागि अलग्गै अनुदान जाने हुँदा त्यहाँ दिवा खाजा कार्यक्रम लागू भएको छैन । स्थलगत रुपमा गरिएको अनुगमनबाट तयार पारिएको प्रतिवेदनका आधारमा खाजा कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै विद्यार्थी सङ्ख्यालाई मध्यनजर गर्दै वृद्धि गर्न थप जोड दिइने पालिकाको योजना रहेको जनाएको छ । |
जनकपुधाम उपमहानगरको आगामी रणनीतिः आन्तरिक आयवृद्धि र प्राथमिक क्षेत्रमा लगानी जनकपुरधाम। मधेस प्रदेश राजधानीकारुपमा रहेको धनुषाको जनकपुरधाम उपमहानगरपालिकालाई स्थानीय जनताका आवश्यकता पूर्ति गर्दै हेर्न लायक प्रादेशिक सहर बनाउनुपर्ने जिम्मेवारीसमेत छ।
त्यसैमा पौराणिक, ऐतिहासिक एवं धार्मिक सहरको स्थापित पहिचानलाई मध्यनजर गर्दै धार्मिक पर्यटनमैत्री विकास गतिविधि सञ्चालन गर्नु उपमहानरपालिकाको अर्को दायित्व छ।
यसलाई पूरा गर्न अन्दाजको भरमा काम गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै प्राथमिकतामा आधारित विकास योजना र आन्तरिक आम्दानीको दायरा बढाउनुपर्ने चुनौती उपमहानगरलाई छ।
“स्थानीय जनताका आवश्यकता, प्रादेशिक र अन्तर्राष्ट्रिय समुदायलाई समेत आकर्षित गर्ने गरी व्यवस्थित धार्मिक सहर बनाउनुपर्ने दायित्व उपमहानगरको काँधमा छ। हाम्रा लागि यो अवसर र चुनौती दुवै हो”, उपमहानगरपालिका प्रमुख मनोजकुमार साहले भने, “त्यसका लागि विगतमा भएका राम्रा अभ्यासको अनुशरण र सुधार्नुपर्ने पक्षको प्राथमिकीकरण गरी आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटबाट केही फरक गर्ने सोचसहित अगाडि बढ्छौँ।”
उनले जनकपुरधाम उपमहानगरपालिकाको एक्लै प्रयासले महत्वपूर्ण कार्य गर्न सजिलो नरहेको भन्दै नागरिक, संघ तथा प्रदेश सरकारको पनि यसमा ठोस योगदान जरुरी रहेको बताए।
“स्थानीय जनताका आवश्यकता मात्रै पूर्ति गर्नुपर्ने भए सोहीअनुसारको योजना बनाउँथ्यौँ तर हेर्न लायक स्वच्छ प्रादेशिक र ऐतिहासिक धार्मिक सहरको संवेदनालाई पनि ख्याल गरेर विकास योजना कार्यान्वयन गर्नुपर्नेछ। त्यसका लागि जिम्मेवारीपूर्वक कर तिर्ने नागरिक, नागरिकमैत्री सेवाप्रवाह र योजनाबद्ध विकास खाकासहितको पर्याप्त लगानी सुनिश्चितता अहिलेको आवश्यकता हो”, साहले भने।
उपप्रमुख किशोरी साहले पनि जनकपुरधामको ऐतिहासिक संवेदनशीलतालाई मध्यनजर गरी तथ्य र प्राथमिकतामा आधारित ठोस योजना बनाउन आगामी आर्थिक वर्षको बजेटबाट निश्चित संकल्प लिनुपर्ने आवश्यकता औँल्याए।
चालु आवमा पहिले २० प्रतिशत र अन्तिममा ५० प्रतिशत बजेट कटौती हुँदा भोग्नुपरेको समस्यालाई सिकाइका रुपमा लिनुपर्ने भन्दै उपप्रमुख साहले आफ्नै आम्दानी बढाउँदै जानुपर्ने दबाबलाई थेग्ने गरी आगामी आर्थिक वर्षको बजेटबाट ठोस पहलकदमी लिनुपर्ने बताए। “आर्थिक अभाव देखाउँदै संघ सरकारले बजेट कटौती गरेको छ।
यो अवस्था आगामी दिनमा पनि रहेमा विकास निर्माण तथा नागरिकका आवश्यकता सम्बोधनमा समस्या हुन्छ। त्यसैले पनि आन्तरिक स्रोतवृद्धिमा जोड दिनुपर्नेछ”, उपप्रमुख साहले भने, “प्रतिकूलताका बीच पनि कसरी काम गर्ने, आम्दानीको स्रोतवृद्धिका उपाय के हुनसक्छन्, नागरिकलाई समस्याको बोध गराउँदै नियमानुसारको कर तिर्न कसरी आकर्षित गर्ने र उपमहानगरले अझ बढी जिम्मेवारी एवं जवाफदेहीतासहित कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्छौं। त्यसले आगामी आवको बजेट तथा कार्यक्रमबाट निश्चित प्रतिफल दिनेछ।”
उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रत्नेश शशीले आन्तरिक आय बढाउने गरी पहिलेका नीतिको समीक्षा, सुधार र परिमार्जन, आगामी आवमा लिनुपर्ने प्रभावकारी नीति, कार्यक्रम र योजना, आम्दानीका सम्भावित स्रोत पहिचानलगायतका विषयमा गम्भीर छलफल गरी निष्कर्षमा पुग्ने बताए। उनले भने, “अब संघ, प्रदेश वा अरुतिर समस्या देखाएर त केही हुँदैन। सबैले आफ्नो जिम्मेवारी इमान्दारितापूर्वक बहन गर्नुपर्ने आवश्यकता छ। उपमहानगरको आन्तरिक स्रोतसाधन र आम्दानी बढाउने गरी बजेट बनाउन काम गरिरहेका छौँ।”
उपमहानगरपालिकामा आव २०७८/७९ मा कूल रु एक अर्ब ५३ करोड ८७ लाख वार्षिक बजेटमध्ये आन्तरिक आयस्रोतको योगदान १३ करोड एक लाख रहने लक्ष्य राखिएकोमा ज्येष्ठ मसान्तसम्म रु ११ करोड ६४ लाख ४६ हजार (आन्तरिक राजस्व संकलन) थियो।
आव २०७९/८० को कूल बजेट रु एक अर्ब ८० करोड ७१ लाख ४५ हजारमध्ये रु १४ करोड ३१ लाख १० हजार आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य रहेकामा चैत मसान्तसम्म रु १० करोड ३४ लाख नौ हजार सात सय ८६ संकलन गरिएको उपमहानगरपालिका राजस्व शाखाको तथ्यांक छ।
उपमहानगरका प्रवक्ता तथा राजस्व शाखा प्रमुख परमेश्वरकुमार झाले आगामी आवमा २० देखि ३० प्रतिशत राजस्व वृद्धि गर्ने गरी आफूहरुले सम्भावित क्षेत्रको अध्ययन गरिरहेको जानकारी दिए। “अहिलेसम्म अधिकांश स्रोतका लागि संघ सरकारको भर पर्नुपर्ने अवस्था छ।
लक्ष्यअनुसारको राजस्व संकलन भइरहे पनि त्यतिले मात्रै धेरै काम गर्न सकिँदैन”, झाले भने, “आन्तरिक स्रोत वा राजस्व अभिवृद्धि गर्ने दायरा एक्कासि बढ्ने अवस्था नभए पनि हालको आन्तरिक आयमा २० देखि ३० प्रतिशत बढाउनुपर्ने सोचसहित तयारी गरिरहेका छाैं।”
उपप्रमुखको नेतृत्वमा रहेको राजस्व परामर्श समितिले विभिन्न चार वटा उपसमिति बनाएर आन्तरिक आयवृद्धिका सम्भावित क्षेत्रको विस्तृत अध्ययन भइरहेको छ। नगर कार्यपालिका सदस्य सन्तोष महतो नेतृत्वको समितिले पोखरी, राकेश विक्रम साह नेतृत्वमा हाटबजार, दीपेन्द्रकुमार साह नेतृत्वको समितिले घरजग्गा, घरधुरी, बहालकर र मनिषा देवीको नेतृत्वमा व्यवसाय दर्तामा देखिएका समस्या तथा सम्भावनाबारे अध्ययनको काम भइरहेको हो।
“प्रदेश राजधानी भएर पनि वीरगञ्ज, विराटनगरजस्तो व्यापारिक कारोबार, आम्दानी र राजस्वको सुदृढ अवस्था यहाँ छैन तर पनि भएकै स्रोत पहिचान, परिचालन र व्यवस्थापन गरेर सबल कसरी हुने भनेर छलफल गरिरहेका छौँ। आगामी आवमा पक्कै पनि केही सुधार हुनेछ”, झाको भनाइ छ।
गुठी र मन्दिर नै मन्दिरको सहर भए पनि जनकपुरधाम उपमहानगरपालिकाले त्यसबाट प्रत्यक्ष लाभ लिन सकिरहेको छैन। पच्चीस वडामध्ये वडा नं १ देखि १३ सम्मको अधिकांश भूमिकर अर्थात् मालपोत गुठी संस्थानले उठाउँछ। भूमिकर शीर्षकमा उपमहानगरको कूल कर संकलन लक्ष्य रु ६७ लाख मात्रै छ, त्यसमा पनि हालसम्म आधाभन्दा कमअर्थात् रु ३३ लाख मात्र संकलन भएको छ।
बहाल करको कूल लक्ष्य दुई करोड २० लाख मात्रै छ तर यो लक्ष्यभन्दा बढी नै संकलन हुने गरेको छ। पोखरीको सहर भनेर चिनिए पनि अधिकांश पोखरी उपमहानगरको अधिनमा छैनन् भएका पोखरीबाट पनि आर्थिक लाभ लिन सकिएको छैन।
यी सबै समस्या, सम्भावना र आवश्यकतालाई दृष्टिगत गरी अध्ययन गरिरहेका चार वटा उपसमितिको अध्ययन प्रतिवेदन र सुझावअनुसार आन्तरिक आम्दानीको हिस्सा बढाउने गरी काम गर्ने उपमहानरपालिकाको योजना छ।
त्यसबाहेक करको दायराभन्दा बाहिर रहेका विद्युतीय रिक्सासम्बन्धी कानुन बनाएर लागू गर्ने, भानुचोकमा निर्माणाधीन व्यावसायिक भवनको प्रयोग, पिकनिकस्थल विकास र पोखरीको सौन्दर्यीकरण गरी आम्दानी बढाउन सकिने उपमहानगरपालिकाको विश्वास छ।
प्रशासकीय अधिकृत शशीले आव २०७४/०७५ देखि चलिरहेको करको दर र दायराबारे समीक्षा, दुई वर्षदेखि रोकिएको विज्ञापनको टेण्डर, प्राथमिकता निर्धारण गरी योजना छनोट र बजेट विनियोजनमा जोड दिने बताइरहँदा उपमहानगर प्रमुख साहले पनि बेरुजु फछ्र्योट, फोहर व्यवस्थापन र शिक्षा क्षेत्रमा सुधार ल्याउने गरी आगामी आवमा बजेट तथा कार्यक्रम ल्याउने गरी तयारी भइरहेको सुनाए। |
पुतलीबजारमा फस्टाउँदो ‘ड्रागन खेती’ वालिङ। सिउँडीको जस्तै काँडामा फल्ने अनौठो फलमा मुक्तबहादुर रानाको मन गयो।
स्याङ्जाको पुतलीबजार–१३ का रानाले १५ वर्षअघि अनौठो र नौलो देखेका फल लाग्ने चार वटा विरुवा घरमा ल्याए।
सुरुमा लगाएका चार वटा बेर्नाबाटै अहिले हजारौँ बेर्ना लगाउने र व्यावसायिक उत्पादन थाल्ने कल्पना सुरुमा उनमा थिएन। जब ती चार वटा बोटबाट उत्पादन राम्रो हुन थाल्यो तब उनले हाँगा काट्दै नर्सरी गरी बेर्ना उत्पादनमा जोड दिए।
सुरुमा लगाइएका चार वटा बेर्नाले उनलाई व्यावसायिक बन्नमा महत्वपूर्ण भूमिका खेल्यो। “कस्तो हुनेरैछ भन्ने कौतुहलता जागेर बेर्ना लिएर आएँ, बेर्ना सारेको केही वर्षपछि फल दिन सुरु भयो”, उनले भने, “फल लाग्न थालेपछि छुट्टै ऊर्जा मिल्यो र त्यहीँबाट बेर्ना उत्पादन गर्दै व्यावसायिकरुपमा ड्रागन खेतीको विस्तार गरेँ।”
दिउँसोको समयमा संस्थागत विद्यालयमा अध्यापनरत उनले विशेष गरी बिहान, साँझ वा बिदाका दिनमा ड्रागन खेतीको विस्तारमा ध्यान दिए। “अन्नबाली उब्जाउ हुँदै आएको जमिनमा सुरुका दिनमा धान, गहुँ, मकैलगायतका खाद्यान्न बाली नलगाई ड्रागन लगाउन चुनौती थियो”, उनले भने, “जब राम्रो हुँदै गयो तब ड्रागन खेती पनि विस्तार हुँदै गयो।”
पन्ध्र वर्षअघि घरमा परीक्षण गर्न ल्याइएको बेर्नाबाट उत्पादन राम्रो हुँदै गएपछि बर्सेनि आफैंले बेर्ना उत्पादन गर्दै लगाउँदै गएको उनी बताउँछन्। सुन्तला उत्पादन हुन्छ कि भन्ने लागेर केही वर्ष सुन्तलाका बोट लगाइएको थियो। सुन्तलाका बोट ठाडै मरेपछि माटो परीक्षण गर्दा ड्रागन उपयुक्त हुन्छ भन्ने कृषि विज्ञसँगको परामर्शपछि ड्रागन खेती थालिएको उनले बताए।
“परीक्षणका लागि ल्याइएको चार वटा बेर्नाले व्यवसायी बनाउँछ भन्ने लागेको थिएन”, उनले भने, “धान, मकै, गहुँजस्ता खाद्यान्न बालीबाट भन्दा यसबाट आम्दानी धेरै हुने गरेकाले यसतर्फ आकर्षित भएको हुँ।” चार रोपनी क्षेत्रफलमा ड्रागन खेती गरेर व्यावसायिक उत्पादन थालेका रानाले गत वर्ष रु ६० हजार आम्दानी गरेका थिए।
गत वर्ष आफन्त, घरमा आएका पाहुनालगायत छर छिमेकमा बाँडेर रहेको बिक्री गर्दा उक्त आम्दानी भएको उनी बताउँछन्। आफैँले उत्पादन गरेका बेर्ना बर्सेनि थप गर्दै जाँदा अहिले उनीसँग १३ रोपनी क्षेत्रफलमा पाँच हजार बेर्ना रहेका छन्। आगामी वर्षमा पनि करिब दुई हजार पाँच सय बिरुवाले उत्पादन दिने उनको अनुमान छ। त्यसबाट राम्रै आम्दानी हुने अपेक्षा छ।
करिब दुई वर्षपछि सबै बोटले फल दिन थाल्ने भएकाले उत्पादन तीन दोब्बरले वृद्धि हुने उनी दाबी गर्छन्। “सबै बोटले फल दिँदा एक सिजनमा रु १२ देखि १५ लाख आम्दानी हुन्छ”, उनले भने, “अहिले प्रतिकेजी रु छ सयका दरले बिक्री हुँदै आएको छ।” यहाँ उत्पादन भएको ड्रागन स्थानीय बजार तथा पोखराका बजारमा सहजरुपमा बिक्री भइरहेको छ।
अहिले उत्पादनभन्दा बजारमा यसको माग धेरै रहेकाले मागअनुसार पुर्याउन नसकिएको उनले बताए। उनले ड्रागन खेतीसँगै मिश्रित बालीको रुपमा अकबरे खुर्सानी, कुरिलो, बन्दा, बदाम, गाँजरलगायतका तरकारी बाली लगाएका छन्।
उत्पादन राम्रो हुनुका साथै बजारमा माग बढ्दै गएकाले क्षेत्र विस्तार गर्ने तयारीमा रहेको उनको भनाइ थियो। “परम्परागतरुपमा गरिँदै आएको खेती प्रणालीबाट फाइदा हुन्छजस्तो मलाई नलागेकाले धान, मकै, गहुँको साटो व्यावसायिक ड्रागन खेती सुरु गरेको हुँ”, उनले भने। रासस |
लगातार किन भइरहेको छ जहाज ‘ओभरसुट’ ? काठमाडौं। यही वैशाख २७ गते भारतको नयाँदिल्लीबाट आएको एयर इण्डियाको जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) मा अवतरण हुनै लाग्दा ‘ओभरसुट’ गर्यो ।
काठमाडौँ विमानस्थलमा दिउँसो ‘मिस एप्रोच’ भएपछि उक्त जहाजले ओभरसुट गरेर सिमरामाथिको आकाशमा करिब एकघण्टा आकाशमा फन्को लगाउने ‘होल्ड’ भएर पुनः अवतरणको प्रयास गर्यो । जहाज अवतरण हुन नसकेपछि भारतको बनारस डाइभर्ट भएको विमानस्थल कार्यालयले जनाएको छ।
त्यसदिन एयर इण्डियासहित अन्तर्राष्ट्रिय उडानका तीन जहाज भारतको वनारस र लखनऊ डाइभर्ट भएका थिए। फ्लाई दुबई र इन्डिगो एयरको जहाज पनि लखनउ डाइभर्ट भएको थियो।
विमानस्थलका एक एयर ट्राफिक कन्ट्रोलर (एटिसी) का अनुसार उक्त दिन ‘टेल वीन’ (पछाडिबाट लागेको हावा)का कारणले जहाज अवतरण समस्या आएको थियो। अन्तर्राष्ट्रिय उडानका ठूला जहाज धावनमार्गको दक्षिणतर्फबाट मात्रै अवतरण हुन्छ। दक्षिणतर्फ तीव्र गतिको हावा चलेकाले जहाज अवतरण हुन नसकेको विमानस्थलको भनाइ छ।
त्यस्तै वैशाख १६ गते दिउँसो नयाँ दिल्लीबाटै काठमाडौँ आएको एयर इण्डियाको जहाजले ओभरसुट गरेको थियो । विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार उक्त जहाज ‘अनस्टेवल एप्रोच’ भएकाले ओभरसुट गरेको हो।
यसरी एक महिनामै एयर इण्डियाको जहाजले दुई पटक ओभरसुट ग¥यो । जहाज अनस्टेवल एप्रोच भएर तथा कहिलेकाही एप्रोच प्रोफाइल नमिलेर, जहाज हाई अल्टिच्युट भएर आउँदा पनि ओभरसुट गर्नुपरेको विज्ञहरु बताउँछन् । जहाज ओभरसुट र होल्ड हुँदा सुरक्षाका हिसाबले निकै जोखिम हुने टिप्पणी हुँदै आएको छ तर, जहाज ओभरसुट र होल्ड हुँदा जोखिम नभई थप सुरक्षित हुने उहाँहरुको भनाइ छ।
नेपाल वायुसेवा गिनम (नेपाल एयरलाइन्स) का एक वरिष्ठ पाइलटका अनुसार ‘अनस्टेवल एप्रोच’ का कारण जहाजले ओभरसुट गर्छन्। “ओभरसुट सबभन्दा बढी सुरक्षित हो, ओभरसुटलाई त हामीले ‘इन्करेज’ गर्नुपर्छ”, उनले भने, “ओभरसुटलाई अनस्टेवलाइज एप्रोच भन्छ, ९० प्रतिशत धावनमार्गमा हुने दुर्घटना ओभरसुटका कारण हुन्छन् ।”
नेपालमा ओभरसुटलाई नकारात्मक रुपमा लिने गरिएपनि संसारभर ओभरसुटलाई सकारात्मक रुपमा लिइन्छ, र सम्बन्धित मुलुकको ‘एभिएसन अथ्योरिटी’ले कारबाही गर्दैनन् तर, नेपालमा ओभरसुट भएपछि नियामक निकालये स्पष्टीकरण लिने गरेको ती वरिष्ठ पाइलटको भनाइ छ।
जहाज अनस्टेवल एप्रोच भएर तथा कहिलेकाहीँ एप्रोच प्रोफाइल नमिलेर ओभरसुट हुन्छ । कहिलेकाहीँ धावनमार्गमा केही वस्तु देखिएमा पनि जहाज ओभरसुट गरिन्छ।
विसं २०७९ वैशाख १ गते भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा परीक्षण उडान भरेर काठमाडौँ फर्किएको नेपाल एयरलाइन्सको ‘वाइड बडी’ जहाज अवतरण हुनैलाग्दा ओभरसुट गरेको थियो। पाइलटले धावनमार्गमा प्लास्टिकको सामान देखेपछि एटिसी टावरलाई जानकारी गराएर जहाज ओभरसुट गरी पुनः अवतरण गरेका थिए।
“पहिला म्यान्डेटरी एप्रोच पनि भनिन्थ्यो ओभरसुटलाई तर, अहिले आएर सम्भावित जोखिम न्यूनीकरणका हिसाबलाई यसलाई सकारात्मक रुपमा लिइन्छ, त्यसैले अहिले संसारमा ओभरसुटको विषयलाई लिएर प्रश्न नै नगर्ने भन्ने प्रवृत्ति बनिसकेको छ”, उनले भने।
जोखिम मोलेर अवतरण गर्नुभन्दा ओभरसुट गर्नु बढी सुरक्षित भएकाले जहाजले ओभरसुट गर्ने गरेको वरिष्ठ पाइलटको भनाइ छ। विमानस्थलका प्रवक्ता सिटौलाको भनाइमा टिआइएमा दक्षिणतर्फबाट मात्रै ठूला जहाज अवतरण हुने भएकाले जहाज होल्ड हुने र ओभरसुट हुनेगरेको छ। जसका कारण विमानस्थललाई चाप परेको छ । एयर ट्राफिक जाम पनि हुन्छ।
विशेष गरी चैत वैशाख महिनामा धावनमार्गको दक्षिणतर्फबाट बढी हावा चल्ने भएकाले टिआइएमा जहाजले ओभरसुट गर्ने र होल्ड हुने गरेका छन्।
कतिपय अवस्थामा कम्पनीको नियम अनुसार पनि जहाजले ओभरसुट गर्छन् । यसरी ओभरसुट गरेको जहाजले एक राउन्ड लगाएर करिब २० मिनेटको समयावधिमा पुनः अवतरण गर्ने गरेको विमानस्थलले जनाएको छ। सिमरामाथिको आकाशबाट काठमाडौँ विमानस्थलमा एप्रोच लिनुपर्ने हुन्छ । अन्तर्राष्ट्रिय उडानका जहाजले काठमाडौँ विमानस्थलमा अवतरण गर्दा सिमरामाथिको आकाशबाटै एप्रोच लिने गरेका छन्।
यसरी ओभरसुट भएका जहाजका कारण एप्रोचका लागि विभिन्न गन्तव्यबाट आइरहेका अन्य जहाज होल्डमा पर्छन् । यसले अन्तर्राष्ट्रिय विमानस्थलमा एयर ट्राफिक जाम पनि बढाउने गरेको छ । आन्तरिक उडानका जहाजलाई पनि चाप पर्छ। अहिले पनि अन्तर्राष्ट्रिय विमानस्थमा दैनिक एक घण्टासम्म जहाज होल्ड हुने गरेका छन् । विमानस्थलको चापले आन्तरिक उडानका जहाजलाई पनि समस्या हुने गरेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) अति व्यस्त विमानस्थलमा पर्छ। यो विमानस्थल स्थापनाको करिब ७२ वर्षपछि थप दुई अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा छन्। हाल मुलुकमा तीन अन्तर्राष्ट्रिय विमानस्थल छन्।
कूल ९२ लाख यात्रु क्षमताको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई यात्रुको सङ्ख्या बर्सेनि बढिरहेको छ। यो विमानस्थलको विकल्पको रुपमा पनि गौतमबुद्ध विमानस्थललाई लिइएको थियो। उक्त विमानस्थलमा अत्याधुनिक उपकरणयुक्त छ।
मौसम खराबी भएको अवस्थामा काठमाडौँ विमानस्थलमा अवतरण गर्न नसकेका जहाज भैरहवा विमानस्थलमा सहजै अवतरण गर्नसक्ने गरी यान्त्रिक प्रणाली जडान गरिएको छ।
तथापि यो विमानस्थलको भरपुर उपयोग हुन सकेको छैन। काठमाडौँ विमानस्थलमा अवतरण हुन नसकेका जहाज र होल्ड भएका कतिपय जहाजले गौतमबुद्ध विमानस्थल अवतरण गरेका हुँदैनन । डाइभर्ट भएका अन्तर्राष्ट्रिय उडानका जहाज अझै पनि भारतको बनारस, लगनऊ, कोलकात्ता जाने गरेका छन्।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि टिआइएमा चाप कम हुने अनुमान गरिएको थियो । तर, तीन अन्तर्राष्ट्रिय विमानस्थल भएपनि टिआइएको उडान चाप उत्तिकै छ । दुई विमानस्थलले विजनेश पाएका छैनन्।
दैनिक एक घण्टा होल्ड
यही वैशाख १९ गते कतार एयरवेजको जहाज करिब एक घण्टा होल्ड भयो । दोहाबाटै काठमाडौँ आएको नेपाल एयरलाइन्सको जहाजले तीन फन्का मारेको थियो । भारतको नयाँदिल्लीबाट आएको इण्डिगो एयर पनि केहीबेर होल्डमा बसेको थियो । कतिपय मौसमको खराबीले र कुनै कम्पनीको नियमअनुसार ‘भिजिबिलिटी’ हेरेर मात्रै अवतरण गदर्छन् ।
टिआइएमा दैनिक आन्तरिक र अन्तर्राष्ट्रिय गरी दैनिक तीन सयभन्दा बढी उडान हुने गरेको छ । अन्तर्राष्ट्रियमा तीन नेपालीसहित २९ एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् । आन्तरिकतर्फ ११ हेलिकोप्टर कम्पनीसहित २० हवाई सेवा प्रदायक कम्पनीले सेवा सञ्चालन गरिरहेका छन्। रासस |
null |
वीरगञ्जमा दोस्रो पटक रात्रि बजार वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले दोस्रो पटक आजदेखि रात्रि बजार लगाएको छ । अर्थतन्त्र चलायमान बनाउने उद्देश्यले नयाँ वर्षदेखि सुरु गरिएको रात्रि बजारलाई निरन्तरता दिन आजदेखि दुई दिने रात्रि बजार लगाएको हो ।
हरेक महिनाको अन्तिम शुक्रबार र शनिबार रात्रि बजार लगाउने योजनाअन्तर्गत आज र रात्रि बजार लगाइएको वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले जानकारी दिए ।
रात्रि बजार व्यवस्थापन समितिको बैठकले नयाँ पर्वलाई दृष्टिगत गरी २०७९ चैत ३० देखि २०८० वैशाख २ गतेसम्म लगाइएको रात्रि बजार प्रभावकारी भएपछि यसलाई अझै विस्तार गर्दै लैजाने निर्णयबमोजिम दोस्रो पटक वैशाख २९ र ३० दुई दिने रात्रि बजार लगाइएको महानगरप्रमुख सिंहले बताए ।
रात्रि बजारका लागि वीरगञ्जको माइस्थान चोकदेखि आदर्शनगर चोक हुँदै पशुपति घोष चोकसम्म विभिन्न स्टल राखिएको छ । विशेष गरेर विभिन्न खानाका परिकार, लत्ताकपडा, जुत्ताचप्पल तथा अन्य विविध किसिमका स्टल राखिएको रात्रि बजार व्यवस्थापन समितिका सदस्यसमेत रहेका ग्रिनसिटी सामुदायिकका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिए ।
वीरगञ्जको व्यापार व्यवसाय अबेरसम्म सञ्चालन गर्ने वातावरण बनाउन रात्रि बजारलाई निरन्तररूपमा अघि बढाउने प्रयास गरिएको र यसबाट बजार चलायमान बन्ने महानगरप्रमुख सिंहको भनाइ छ ।
वीरगञ्ज उद्योग वाणिज्य सङ्घले बजारको नेतृत्व लिएर अघि आउन आग्रह गर्दै महानगरप्रमुख सिंहले सुरक्षा तथा अन्य व्यवस्थापनको जिम्मा महानगरले लिने पनि बताए ।
उनले रात्रि बजार लाग्ने समयमा नेपाल भारत मुख्य सीमा राति १ बजेसम्म खुल्ने व्यवस्था मिलाइएकाले सीमापारका पर्यटकको आगमन बढ्ने र बजार चलायमान हुने विश्वास पनि व्यक्त गरे । नयाँ वर्षमा पुरानो बसपार्कमा राखिएका स्टल अबदेखि भने सडक पेटीमै राखेर बजार सञ्चालन गराइने जनाएको छ ।
कोभिड–१९ का कारण अर्थतन्त्र पछिल्लो पटक आएको आर्थिक मन्दीका लागि झन् बिग्रिएपछि बजारको रौनक फिर्ता ल्याउँदै त्यसलाई चलायमान बनाउने उद्देश्यले रात्रि बजार सञ्चालन गरिएको सिंहको भनाइ छ । |
मुलुकमा सङ्घीयता, सुशासन, समृद्धि र समाजवाद अपरिहार्य : उपराष्ट्रपति काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले मुलुकमा सङ्घीयता, सुशासन, समृद्धि र समाजवाद अपरिहार्य रहेको बताउँदै त्यसको कार्यान्वयनमा जोड दिएका छन् ।
स्वप्नबालिका प्रकाशनद्वारा यहाँ आज आयोजित कार्यक्रममा स्व नेता प्रेमकृष्ण पाठकबारे लेखिएको ‘अनेक आयामका क्रान्ति योद्धाः प्रेमकृष्ण पाठक’ नामक पुस्तकको लोकार्पण गर्दै उनले स्व पाठकको सङ्घर्षबाट नेपालका नयाँ पुस्ताले धेरै कुरा सिक्नुपर्ने बताए ।
उपराष्ट्रपति यादवले नेपालमा २००७ सालदेखि २०४६ सालसम्म भएका विभिन्न आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै गणतन्त्र स्थापना र न्यायपालिकाको विकासमा स्व नेता पाठकले पुर्याएको योगदानको चर्चा गरे ।
पछिल्लो पटक भएका आन्दोलनमा युगान्तकारी परिवर्तनका मुद्दा सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक प्रतिनिधित्व, समावेशीतालगायतमा समेत नेता पाठकको महत्वूर्ण भूमिका रहेको उपराष्ट्रपति यादवको भनाइ छ ।
“राजनीतिकर्मी एवं समाजिक अगुवासमेत रहनुभएको प्रेमकृष्ण पाठक हामीमाझ हुनुहुन्न, व्यक्ति महत्वपूर्ण पदमा हुन पनि सक्छन्, नहुन पनि सक्छन्, तर विचार मुख्य कुरा हो, तर उहाँले देश सेवामा पु¥याउनुभएको योगदान सदैव चिरस्मरणीय छ”, उनले भने ।
स्व पाठकको राजनीतिक योगदान प्रशंसायोग्य रहेको बताउँदै उनी बालसुलभ चेतना भएको नेता र कुशल अभिवक्ता भएको स्मरण गरे । उपराष्ट्रपति यादवले भने, “उहाँले नेपाल बार एशोसिएसनको अध्यक्षका रुपमा रहेर देशको सेवा गर्नुभएको थियो, एक कुशल अभिवक्ता भएका कारण उहाँले विभिन्न लेखन कार्यमा समेत उत्तिकै महत्वपूर्ण योगदान दिनुभएको थियो ।”
सोही अवसरमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले स्व नेता पाठकले कानुन, नेपाली साहित्य र राजनीतिक परिवर्तनमा पु¥याएको योगदानको चर्चा गरे ।
पुस्तकमा स्व पाठकद्वारा लेखिएका र प्रकाशित भएका ६३ वटा लेख, उनीसँग विभिन्न समयमा लिइएको अन्तर्वार्ता समावेश गरिएको छ भने ४३ वटा स्व पाठकका बारेमा विभिन्न व्यक्तिहरुले लेखेका छन् । |
माइतीघरमा शिक्षक र कर्मचारीको प्रदर्शन काठमाडाैं । शिक्षकहरु शिक्षा क्षेत्रको समस्या समाधान गर्न संघीय शिक्षा ऐन ल्याउनुपर्ने माग गर्दै प्रदर्शनमा उत्रिएका छन् ।
काठमाडौंको माइतीघर मण्डलामा नेपाल शिक्षक महासंघको अगुवाइमा विभिन्न १४ संघसंगठनका शिक्षक तथा कर्मचारीले संघीय शिक्षा ऐन ल्याउन सरकारलाई दबाब सृजना गर्न प्रदर्शन गरेका हुन् ।
संघीय शिक्षा ऐन ल्याउनुपर्ने, न्यून बेतनमा काम गरिरहेका बालकक्षा शिक्षक र विद्यालय कर्मचारीलाई दरबन्दी कायम गरी तलब भत्ता उपलब्ध गराउनुपर्ने लगायतका माग राखेर शिक्षक, कर्मचारी आन्दोलनमा उत्रिएका हुन् ।
माइतीघरमा शिक्षकसहितको प्रदर्शन भइरहँदा सिंहदरवारमा बसेको दिगो विकास तथा सुशासन समितिको बैठकमा भने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले संघीय शिक्षा ऐन संसदमा पेस गर्ने बताए । उनले संसदको चालु अधिवेशनमै उक्त ऐन ल्याउने जानकारी दिएका हुन् । |
मुगु हिमपहिरो अपडेट : घटनास्थलसम्म उद्घार टोली पुग्न सकेन मुगु। हिमपहिरामा परी बेपत्ता भएको घटना हप्ता दिन भइसक्दा पनि सुरक्षाकर्मीसहितको टोली घटनास्थलसम्म पुग्न सकिरहेको छैन। हिमाल तथा पाटनमा १० फिटभन्दा बाक्लो हिउँ जमेको र लगातार मौसममा खराबी आइरहेकाले घटनास्थलसम्म पुग्ने बाटो पहिल्याउन कठिनाइ हुँदा उद्घारमा गएको टोली जति प्रयास गरे पनि घटनास्थलसम्म पुग्न नसकेको बताइएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेश बस्नेतका अनुसार सुरक्षाकर्मीले छापाखोलामा बेसक्याम्प खडा गरेर प्रत्येक दिन बिहानै घटनास्थलसम्म जान हिँडे पनि हिउँ बाक्लो जमेको र छिन–छिनमा हिउँ परिरहँदा प्रत्येक दिनको प्रयास निरर्थक भइरहेको छ।
खटिएका सुरक्षाकर्मी एकपछि अर्को बिरामी हुन थालेकाले उनले आज जिल्ला सदरमुकामबाट थप सुरक्षाकर्मी पठाउन लागेको र बिरामी परेकालाई फिर्ता बोलाइएको जानकारी गराए।
बेपत्ता भएको हप्ता दिन बितिसकेकाले बेपत्तामध्ये कोही जिउँदो होलान् भन्ने आश मरिसकेको छ। अब जेठ ४ गते पाटनमा यार्सागुम्बा टिप्न प्रवेश खुला हुने भएकाले त्यो बेला सुरक्षाकर्मी सुरक्षा दिन जाने र संकलन पनि सयौँ संख्यामा पाटन पुग्ने भएकाले बेपत्ताको खोजी त्यो बेला सहज हुनसक्ने प्रनाउ बस्नेतले बताए।
उनले भने, “खोजीको टोलीसँगै गएका बेपत्ता भएका व्यक्तिका दुई आफन्त पनि घर फर्किसक्नुभएको छ, पाटनको अवस्था, परिस्थिति, कठिनाइ सबै उहाँहरूले बुझेर अब खोजी गर्न गाह्रो छ, हामी पनि बिरामी भयौँ, पाटन खुला भए सुरक्षाकर्मी वा यार्सा संकलन कोहीले बेपत्ता भेट्टाए खबर गरिदिनुहोला भन्दै घरतर्फ फर्किसक्नुभएको छ।”
यही वैशाख २२ गते मुगुम कार्मारोङ गाउँपालिका–१ र २ मा पर्ने च्याँखुलेकमा हिउँपहिरो आउँदा यार्सा टिम्न मुगुका पाटनमा पुगेका जुम्ला पातारासि गाउँपालिका–२ तल्फीगाउँका १५ जनामध्ये तारासिंह सार्की, पुन्न सार्की र वीर बोहोरो बेपत्ता भएका थिए।
बेपत्ताको सूचना पाउनासाथ २२ गते नै इलाका प्रहरी चौकी मुगुबाट र २४ गते नेपाली सेनाको हेलिकोप्टरबाट जिल्ला सदरमुकाम गमगढीबाट बेपत्ता भएका व्यक्तिका दुई आफन्तसहित २३ जनाको टोली घटनास्थलतर्फ खोजीका लागि गएको थियो।
घटनास्थल नजिक हेलिकोप्टर अवतरण गर्न अनुकूल मौसम नभएपछि सिरानी चौरमा अवतरण गरी फर्किएको थियो भने टोली त्यहाँबाट तीन घण्टामाथि र घटनास्थल च्याखुलेकभन्दा चार घण्टा तल रहेको छापाखोला भन्ने स्थानमा बास बसी प्रत्येक बिहान घटनास्थलसम्म पुग्न निस्कने दिनभरि प्रयास गर्ने र साँझ बासस्थान फर्किने गर्दै आएका थिए। – रासस |
शुक्लाफाँटा नगरपालिकाले तयार गर्यो आफ्नै पाठयक्रम कञ्चनपुर। स्थानीय संस्कृति, जनजीवन, भूगोललगायतका विषयवस्तुबारे बालबालिकालाई जानकारी दिनका लागि शुक्लाफाँटा नगरपालिकाले कक्षा १ देखि ८ सम्म ‘हाम्रो शुक्लाफाँटा’ पाठयक्रम तयार गरेको छ । उक्त पाठयक्रम चालु शैक्षिकसत्रदेखि लागू गरिएको छ ।
निर्माण गरिएको पाठ्यक्रमले स्थानीयस्तरमा रहेका मूल्य, मान्यता, कला, संस्कृतिलगायत विविध पक्षको संरक्षण र संवद्र्धन गर्दै आगामी पुस्तामा हस्तान्तरण गर्न सहयोग पु¥याउने विश्वास छ । स्थानीय पाठ्यक्रममार्फत बालबालिकामा आफ्नो परिवेशबाट सिक्ने, नजिकको वातावरण, भूगोलसँग सम्बन्धित ज्ञान आर्जन गरुन् भनेर पाठ्यक्रम निर्माण गरिएको स्थानीय पाठ्यक्रम विकास तथा कार्यान्वयन समितिका संयोजक टिकेन्द्रराज भट्टले बताए।
निर्माण गरिएको पाठ्यक्रमका माध्यमबाट बालबालिकाले नजिकको ज्ञान, सीप र अनुभवलाई फराकिलो पार्दै विश्वव्यापी ज्ञानसँग समिश्रण गर्ने सामाजिक मुद्दासँग परिचित हुने, विकृतिसँग विद्रोह गर्ने गुणको विकास हुने उनको भनाइ छ । नगरपालिकाको स्थानीय पाठ्यक्रम निर्माणको क्रममा यस क्षेत्रका शिक्षासँग सरोकार राख्ने शिक्षाविद्, पाठ्यक्रमविद्, समाजसेवी, जनप्रतिनिधि, नगर शिक्षा समिति, शिक्षक, विद्यालय व्यवस्थापन समिति, अभिभावक, विद्यार्थी, गैरसरकारी संस्था तथा सरोकारवाला सम्पूर्ण पक्षसँग छलफल गरिएको थियो ।
“सम्बन्धित पक्षबाट प्राप्त सुझाव नै पाठ्यक्रमको मूल आधार हो”, उनले भने । आधारभूत तह, ९कक्षा १–८०का लागि तयार पारिएको स्थानीय पाठ्यक्रममा शुक्लाफाँटा नगरपालिकाको भौगोलिक, ऐतिहासिक, सामाजिक, आर्थिक, जनसाङ्ख्यिकी तथा राजनीतिक अवस्थाको परिचयसम्मका विषयवस्तु समावेश गरिएका छन् । स्थानीय सरकारको परिचय, विभिन्न समितिका काम, कर्तव्य र अधिकारका विषयवस्तु पाठ्यक्रममा समेटिएका छन् ।
त्यसैगरी नगरपालिकाभित्र रहेका धर्म, संस्कृति तथा सांस्कृतिक मूल्यमान्यता, रहनसहन, प्राकृतिक स्रोत साधन, पर्यटकीयस्थल आदिको पहिचान, जगेर्ना, संरक्षण र संवद्र्धनका लागि पनि विषयवस्तु यसमा राखिएका छन् । पाठ्यक्रममा पहाडी समुदाय, राना थारू र चौधरी डगौरा थारू समुदायको कला, संस्कृति समावेश गरिएको छ । |
पर्यटकीय गन्तव्य बन्दै ‘बराह ताल’ ढोरपाटन। वरपर जंगल र बस्ती। बीचमा छ बराह ताल। शान्ता वातावरण, स्वच्छ हावापानी र चिरबिर चराचुरुंगीको आवाजले धेरैको मन फुरुङ हुन्छ। बागलुङ नगरपालिका-१० भकुन्डेमा पर्ने बराह ताल प्राकृतिक सुन्दरताले भरिपूर्ण छ।
एक हजार तीन सय २६ मिटरको उचाइमा रहेको बराह ताल जिल्ला सदरमुकाम बागलुङ बजारबाट सबैभन्दा नजिकको ताल हो । ताल बजार नजिक हुँदा आन्तरिक पर्यटकको रोजाइमा परेको छ। दिनप्रतिदिन यहाँ घुम्न पुग्नेको सङ्ख्या बढिरहेको छ।
गाडी र पैदल सहजै पुग्न सकिने हुँदा बराह तालप्रति आन्तरिक पर्यटक आकर्षित हुने गरेका छन्। ताललाई थप व्यवस्थित गरेपछि यसको सुन्दरता बढेको पाइन्छ। बागलुङ बजारबाट गाडीमा आधा घण्टा र पैदलयात्रामार्फत करिब साढे एक घण्टामा बराह ताल पुग्न सकिन्छ।
तालका बीचमा रहेका रुखले पर्यटकलाई थप आकर्षित गरेको छ। गोलाकार आकारमा रहेको ताल करिब सात रोपनी क्षेत्रफलमा फैलिएको छ । पहिले अव्यवस्थित रहेको ताल अहिले व्यवस्थित बनेको छ।
ताल वरपर मन्दिर निर्माण गरिनुका साथै घेरा गरिएको छ। पछिल्लो समय बराह तालमा घुम्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको स्थानीय सोमबहादुर थापामगरले बताए।
उनका अनुसार बिदाका दिन अझ बढी पर्यटकको भीडभाड हुने गरेको छ। बराह ताल धेरै पहिलेदेखि चर्चित भए पनि विभिन्न पूर्वाधार बनेपछि पछिल्लो समय पर्यटक बढी आउने गरेको थापामगर बताउँछन्।
उनी भन्छन्, “बराह ताल पहिले अलि फरक थियो, अहिलेको जस्तो व्यवस्थित थिएन, यसको व्यवस्थापन गरेपछि अहिले धेरै राम्रो बनेको छ, पहिले अहिलेको जस्तो गोलाकार थिएन, अहिले घेराबार लगाएर गोलाकार आकारको बनाइएको छ, पहिलेको तुलनामा अहिले घुमफिर गर्ने मान्छे बढेर होला यहाँ आउनेको सङ्ख्या पनि बढेको पाइएको छ, प्रचार पनि हुँदै गएको छ।”
बराह तालको गहिराइ अहिलेसम्म कति छ भन्ने पत्ता नलागेको थापामगरको भनाइ छ। पछिल्लो समय फोटो, भिडियो खिच्ने र सामाजिक सञ्जालमा पोस्ट्याउने गर्दा प्रचार–प्रसारमा व्यापक बनेको थापामगरले बताए।
बराह तालमा हरेक जेठको पूर्णिमा र कार्तिक पूर्णिमामा ठूलो मेला लाग्ने गर्छ। मेला अवलोकनका लागि बागलुङका विभिन्न स्थानसहित पर्वत, म्याग्दी, कास्कीलगायतका ठाउँबाट पर्यटक घुम्न आउने गर्छन्।
बराह ताल नजिकै रहेको मन्दिरमा पूजाआजा गर्दा मनोकांक्षा पूरा हुने जनविश्वास छ। तालको प्रचार-प्रसारमा तीव्रता दिएसँगै पर्यटक बढ्दै गएको बागलुङ नगरपालिका-१० भकुण्डेका अध्यक्ष तिलबहादुर थापामगरले बताए।
उनले बराह ताल नजिकै ‘पिकनिक स्पट’ रहेको हुँदा बिदाका दिन विभिन्न संघसंस्था, विद्यार्थी, व्यापारी रमाइलोका लागि आउने गरेको बताए। ताललाई थप व्यवस्थापन गर्नका लागि नगरपालिकाबाट पहल भइरहेको अध्यक्ष थापामगर बताउँछन्।
“जिल्लामै सबैभन्दा राम्रो तालका रूपमा रहेको छ यो बराह ताल, अरु ठाउँका ताल पनि देखियो तर योजस्तो व्यवस्थित छैनन्, बागलुङ बजार नजिकै रहेको भएर पनि होला बेला-बेला विदेशी पर्यटक पनि आउने गर्छन्”, अध्यक्ष थापामगरले भने, “तालसम्म आउने सडकको अवस्था अलि कमजोर छ, यसलाई थप व्यवस्थित बनाउनुपर्ने छ, यो सडक व्यवस्थित भयो भने यहाँ आउने पर्यटको सङ्ख्या दोब्बरले बढ्ने देखिन्छ, हामीहरू ताल व्यवस्थापनका लागि योजना बनाइरहेका छौँ।”
ताल घुम्न पुग्ने पर्यटकले यहाँको लोकल परिकार पनि चाख्न पाउँछन्। ताल वरपर नै घरबास (होमस्टे) सञ्चालनमा रहेको हुँदा बराह ताल पुग्ने पाहुनालाई बास बस्न र खानाको समस्या हुँदैन।
बराह ताल क्षेत्रबाट उच्च पहाडी क्षेत्रसँगै एकैपटक धवलागिरि, माछापुच्छ्रे, अन्नपूर्णलगायत २२ वटा हिमशृङ्खालाको अवलोकन गर्न सकिन्छ। भकुण्डे पुग्ने पर्यटकलाई स्थानीय उत्पादनबाट बनेका परिकार खुवाउने गरेको अतिथि सत्कार सामुदायिक होमस्टेकी उपाध्यक्ष इन्द्रा थापामगरले बताइन्।
उनले पाहुनालाई लक्षित गरी गाउँमा घरबास पनि व्यवस्थित बनाइएको बताइन्। घरबास लामो समयदेखि सञ्चालनमा रहेको भन्दै घुम्न आउने पर्यटकलाई खाना र बस्नको समस्या नहुने उनको भनाइ छ।
पाहुनालाई सिन्कीको अचार, कोदोको रोटी ढिडो, लोकल कुखुरालगायतका परिकार खान दिने गरेको थापामगरले बताइन्। रहेक वर्ष विदेशी पर्यटक पनि आइराखेको उनी बताउँछिन्।
थापामगर भन्छिन्, “कोरोना आउनुभन्दा पहिले पर्यटक धेरै आउँथे, बीचमा केही कम भएको थियो, अहिले फेरि बढ्न थालेको छ, बराह तालमा दैनिकजसो आन्तरिक पर्यटक आउने गरेका छन्, त्यहाँ आउने पर्यटक हाम्रो होमस्टेमा पनि आउने गरेका छन्, पाहुनाका सुविधाका लागि नेटलगायतका सेवा थप गरेका छौँ, पहिलेभन्दा व्यवस्थित हुँदै गएका छौँ।” |
अनुदान उत्पादनमा प्रेरक कास्की। कास्कीको रुपा गाउँपालिका-५ देउरालीकी खोमाया गुरुङ यतिखेर बाख्रापालन गरिहेकी छन्। विगतमा परम्परागत खोरमा बाख्रा पालेकी उनले अहिले आधुनिक खोर निर्माण गरेकी छन्।
दश बाख्राबाट सुरु गरेकी उनका खोरमा हाल २४ बाख्रा भइसकेका छन्। गएको दशैँमा घरमा मासुको व्यवस्थासँगै पाँच पाठा बेचेर अन्य खर्च एवं बैंकको किस्ता तिरेको गुरुङ बताउँछन्।
विगतमा बाँदरका कारण अन्य खेती गर्न नसकेका अवस्थामा कृषि तथा पशुपक्षी विकास मन्त्रालयको ‘नेपाल लाइभ स्टक सेक्टर इनोभेसन आयोजना (एनएलएसआइपी)’बाट प्रदान गरिएको अनुदान सहयोगले यतिखेर गुरुङजस्तै गाउँका २४ महिला बाख्रापालनमा लागेका छन्। अन्नपूर्ण पशुपालक समूहमा आबद्ध उनीहरू यतिखेर बाख्रापालन सक्रिय बनेका हुन्।
आयोजनाले मासु उत्पादन मूल्य शृङ्खलाअन्तर्गत सम्बन्धित व्यक्ति एवं संस्थाको २० प्रतिशत र बैंकको ३० प्रतिशतः ऋण लगानीसहित आयोजनाबाट ५० प्रतिशत अनुदान दिने गरी प्रस्ताव आह्वान गरेकामा उक्त समूहले सबै प्रक्रिया पुर्याएर सो अनुदान सुविधा लिएको थियो।
बाख्रापालनका लागि कुल रु एक करोड ९८ लाख लगातमध्ये स्वलगानी रु ३९ लाख, बैंकको रु ५९ लाख र आयोजनाको रु ९९ लाख ४३ हजार रहेको अन्नपूर्ण पशुपालक समूहका सचिव अप्सरा श्रेष्ठले जानकारी दिए। समूहले आयोजनासँग २०७८ भदौमा सम्झौता गरेको हो।
आयोजनाअन्तर्गत सुधारिएका खोर निर्माण, खरी बाख्रा तथा ५० प्रतिशत बोयर बोका खरिद, बाख्रापालन व्यवसायीकरण, आधुनिकीकरणले खोरमा यतिखेर बाख्राका पाठा हुर्किँदै छन्। समूहका कतिपयले बिक्रीसमेत गर्न थालेको श्रेष्ठ बताउँछन्।
“अनुदानले स्वरोरजगार बनाउन टेवा पुर्याएको छ”, उनले भने, “दैनिक १९ किलो मासु उत्पादन गर्ने दीर्घकालीन योजना छ।”
समूहले उत्पादित मासुको बजार व्यवस्थापन गरिसकेको उल्लखे गर्दै उनले उत्पादित बाख्रा, पाठा घर–घरबाटै बिक्री हुन थालेको समूहका अर्की सदस्य दुर्गा विक बताउँछिन्।
आयोजनाकै अनुदानप्राप्त पोखरा महानगरपालिका-३१ चक्रदेवी गुणस्तरीय दूध उत्पादन केन्द्रले सम्झौताअनुसारका काम सम्पन्न गरी अनुदान सहयोगको सम्पूर्ण किस्ता भुक्तानी गरिसकेको छ।
अनुदान सम्झौताअनुसार कुल लागत रु एक करोड ३३ लाखको ५० प्रतिशत अनुदान एवं स्वलगानी २० प्रतिशत र बैंकको ३० प्रतिशत ऋण लगानी गरी गाईगोठ निर्माण, गाई खरिद र आवश्यक मेसिन औजार खरिद गरिएको केन्द्रका व्यवस्थापक इन्द्रप्रसाद तिवारीले जानकारी दिए।
आयोजानबाटै अनुदान प्राप्त गरी जिल्ला सहकारी संघ लिमिटेड कास्कीले दुग्ध प्रशोधन केन्द्रको क्षमता विस्तार गरेको वरिष्ठ व्यवस्थापक भोजराज घिमिरेले बताए।
विसं २०५७ देखि एक हजार लिटर दूध संकलन, प्रशोधन र बजारीकरण गर्दै आएको केन्द्रले अनुदान सहयोग प्राप्त भएसँगै हाल दुई हजार पाँच सय लिटर दूध संकलन, प्रशोधन र बजारीकरण गर्न थालेको छ।
“उपआयोजनापूर्व दूध, दही र पनिर मात्र उत्पादन हुन्थ्यो, अनुदान सहियोगपछि आइसक्रिम, खुवा, मिठाईलगायत वस्तु पनि विविधिकरण गरिएको छ”, उनले भने। उपआयोजना सञ्चालनपश्चात ५० जनाले प्रत्यक्ष र एक सय जनाले अप्रत्यक्षरुपमा रोजगारी पाएका छन्।
आयोजनाअन्तर्गत गण्डकी प्रदेशका जिल्लामा कुल दुई सय ४१ अवधारणापत्र प्राप्त भएकामा एक सय ७८ फार्म एवं संस्था स्वीकृत भएको पूर्ण प्रस्ताव तालिम तथा मूल्यांकनपछि ७४ उपआयोजनासँग सम्झौता भएको विकेन्द्रीकरण आयोजना सहयोग एकाइ पोखराका निमित्त प्रमुख डा प्रकाश अधिकारीले जानकारी दिए। रासस |
जन्ती बस दुर्घटना, ३० घाइते सिन्धुपाल्चोक । चौतारा साँगा चोक गढी नगरपालिका–७ झ्याडीमा जन्ती लिएर हिँडेको बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् ।
जलबिरे खमारेबाट जन्ती लिएर इन्द्रावती गाउँपालिका जाँदै गरेको हेलम्बु यातायातको बा २ ख ८४२२ नम्बरको गाडी दुर्घटना भएको प्रहरीले जनाएको छ । इन्द्रावती–१० पाटीगाउँतर्फ हिँडेको गाडी चौतारा साँगा चोक गढी नगरपालिका–७ झ्याडीमा ब्रेक फेल हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
घटनास्थलमा प्रहरी र एम्बुलेन्स पुगेर उद्धार गरिएको छ । घाइतेको चौतारा अस्पतालमा उपचार हुँदै गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । |
कुकुरको टोकाइबाट पर्यटक घाइते गोरखा । उत्तरी गोरखाको मनास्लु क्षेत्रमा घुम्न गएका विदेशी नागरिक कुकुरको टोकाइबाट घाइते भएका छन् ।
अस्ट्रेलियन नागरिक अन्दाजी ३३ वर्षीय क्रिस्टेन लुइस विल्सनलाई बिहीबार साम्दोमा कुकरले टोकेको हो । उनको टाउँको र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ ।
उपचारका लागी उनलाई बिहीवार हेलिकप्टर चार्टर गरी काठमाडौं लगिएको जिल्ला प्रहरी प्रमुख एसपी अनुपम श्रेष्ठले बताए । |
खेल क्षेत्रले देशलाई चिनाउन मद्दत गर्छ : मन्त्री बस्नेत सिन्धुपाल्चोक । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले खेल क्षेत्रले देशलाई चिनाउन सहयोग गर्ने बताएका छन् । मेलम्चीमा आज सम्पन्न जिल्लास्तरीय भलिबल प्रतियोगिताको समापन कार्यक्रममा मन्त्री बस्नेतले खेलले स्वस्थ रहन पनि धेरै सहयोग पुग्ने बताए ।
सिन्धुपाल्चोक घर भई हाल अमेरिका रहेका राम श्रेष्ठले बाढी प्रभावित क्षेत्रमा खेल गतिविधि बढाउन सहयोग गरेकोमा उनले आभार प्रकट गरे । मन्त्री बस्नेतले सुर्तीजन्य पदार्थमा कर बढाएर आर्थिक स्थिति कमजोर भएकाको उपचारमा खर्च गर्ने नीति ल्याउन आफू लागिपरेको बताए ।
आज सम्पन्न जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि सिन्धु योङ स्टार क्लब मेलम्ची–९ ले हात पारेको छ । फाइनलमा मेलम्ची–७ दुवाचौरलाई ३–१ को सेटमा पराजित गर्दै सिन्धु योङ स्टारले उपाधिमाथि कब्जा जमाएको हो । मेलम्ची–९ ले दुवाचौरलाई २५–२०, २५–१८, २०–२५ र २५–१६ ले पराजित गरेको हो ।
उपाधिसँगै मेलम्ची–९ ले रु दुई लाख हात पारेको छ भने मेलम्ची–७ दुवाचौरले रु एक लाखमा चित्त बुझाएको छ । त्यस्तै वनकाली युवा समाज जुगलले तेस्रो स्थान हात पारेको छ । सिर्जनशील युवा क्लब दुवाचौर छापलाई ३–२ को सेटमा पराजित गर्दै वनकाली तेस्रो भएको हो । उसले रु ७५ हजार नगद पाएको छ । खेलाडीलाई नगद, ट्रफी र प्रमाणपत्रले सम्मान गरिएको थियो ।
मेलम्ची युवा क्लबको आयोजना तथा राम श्रेष्ठको प्रायोजनमा वैशाख २५ गतेबाट सुरु भएको प्रतियोगितामा अनुशासित टिम मेलम्ची–२ घोषित भएको प्रतियोगिताको सहजीकरण गरिरहेका प्रकाश सापकोटाले जानकारी दिए । |
‘लम्पी स्किन’बाट एक सय २७ पशु मरे, सोह्र सय सङ्क्रमित सिमकोट । हिमाली जिल्ला हुम्लामा वैशाख दोस्रो सातायता पशुचौपायामा ‘लम्पी स्किन’ रोगको सङ्क्रमण देखापरेको छ । सुरुमा फाट्टफुट्ट पशुचौपायामा देखिएको यो रोगको सङ्क्रमण हाल प्रकोपकै रूपमा फैलिएको छ ।
लम्पी स्किनको सङ्क्रमणले पशु बिरामी हुने र दैनिक मर्ने गरेको पशु अस्पताल तथा पशु सेवा कार्यालय हुम्लाका निमित्त कार्यालय प्रमुख कृष्ण रोकायाले बताए । अहिलेसम्म यो रोगबाट जिल्लाको पाँचवटा गाउँपालिकामा एक सय २७ पशुवस्तु मरेका छन् । सबैभन्दा बढी खार्पुनाथ गाउँपालिकामा ६३ गाईगोरु मरेका छन् भने सिमकोटमा ४१, नाम्खा १०, अदानचुली १३ गाईगोरु मरेको निमित्त कार्यालय प्रमुख रोकायाले बताए । हाल लम्पी स्किन रोग जिल्लाभर महामारीका रूपमा फैलिएको उनले बताए ।
हुम्ला जिल्लाभर लम्पी स्किन रोगबाट हालसम्म एक हजार छ सय ३९ वटा गाईगोरु सङ्क्रमित भएका छन् । सबैभन्दा बढी खार्पुनाथ गाउँपालिकाका किसानले पालेका नौ सय २० गाईगोरुमा यो सङ्क्रमण देखिएको छ । सङ्क्रमित पशुको शरीरका भागमा घाउ भएर पाक्ने, उच्च ज्वरो आउने लक्षण देखिएको रोकायाले बताए ।
यस्तै सङ्क्रमण देखिएका एक हजार तीन सय ७० गाईगोरुको पशु अस्पताल तथा पशु सेवा कार्यालयले उपचार गरेको छ । लम्पी स्किन रोगले सबैभन्दा बढी दुधालु गाईलाई प्रभावित पार्ने गरेको छ । जिल्लाभर ४१ हजार चार गाईगोरु, तीन हजार दुई सय ३४ भैँसी, ४० हजार ४२ भेँडा, एक लाख ३८ हजार ९३ बाख्रा, चौँरी सात हजार दुई सय ४६ र एक हजार आठ सय २० कुखुरा प्रभावित छन् ।
रोग नियन्त्रण बाहिर गइसकेको सिमकोट गाउँपालिका पशु शाखाका कर्मचारी विष्णु बुमीले बताए । हाल प्राथमिक उपचारदेखि औषधि प्रयोग गरिरहेको बताए । उक्त रोगबाट ग्रसित रहेका पशुका लागि ठोस उपचार भएको पाइँदैन । यो रोग निको पार्नेसम्बन्धी कुनै भ्याक्सिन नभएको बुमीले बताए ।
पशुचौपायामा लम्पी स्किन रोग देखापरेपछि हुम्लाका किसान चिन्तित भएका छन् । रोगबाट पशुवस्तु बिरामी भएर मर्न थालेपछि चिन्तित भएको सिमकोट गाउँपालिका–२ का डाङ्स्या रावलले बताए ।
यो रोग जिल्ला बाहिर सुर्खेत नेपालगञ्जबाट ल्याइएका दुई सय ४० वटा गाईमा पहिलोपटक देखापरेको थियो । ती गाई जिल्लाको दक्षिण अदानचुली, ताँजकोट हुँदै पैदल भएर सदरमुकाम सिमकोट ल्याइएको थियो । |
राष्ट्रिय सम्मानसहित मुकेशको अन्त्येष्टि काभ्रेपलाञ्चोक । दोस्रो जनआन्दोलनमा घाइते भई बुधबार साँझ उपचारका क्रममा निधन भएका बनेपाका ३२ वर्षीय मुकेश कायस्थको आज राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको छ । कायस्थको नेवारी परम्पराअनुसार उग्रतिर्थेश्वर घाटमा दाहसंस्कार गरिएको हो ।
बनेपा नगरपालिका–८ का कायस्थको शव आज बिहान ११ देखि दिउँसो २ बजेसम्म श्रद्धाञ्जलि अर्पणका लागि बनेपा नगरपालिका कार्यालयको प्राङ्गणमा राखिएको थियो ।
कायस्थको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, सांसदद्वय गोकुलप्रसाद बाँस्कोटा र सूर्यमान दोङ, बागमती प्रदेशसभा सदस्यद्वय कञ्चनचन्द्र वादे र लक्ष्मण लम्साल, गृह मन्त्रालयका सचिव दिनेश भट्टराईलगायत जिल्लास्थित राजनीतिक दलका नेता, कार्यकर्ता उपस्थित थिए । सो अवसरमा मन्त्री मोदीले मुकेशलाई सहिद घोषणा गर्ने प्रतिबद्धता जनाएका थिए ।
दोस्रो जनआन्दोलनका क्रममा विसं २०६२ चैत २७ गते बनेपाको तीनदोबाटोमा सुरक्षाकर्मीको गोली लागी मुकेश घाइते भएका थिए । विसं २०४८ भदौ ९ गते जन्मिएका मुकेश १७ वर्ष एक महिना अर्धचेत अवस्थामा जीवन बिताए । उनको स्वास्थ्यमा समस्या देखिएपछि गत सोमबार बनेपास्थित शिर मेमोरियल अस्पतालमा भर्ना गरिएको थियो ।
कायस्थको निधनप्रति दुःख व्यक्त गर्दै नगर तथा जिल्लास्थित सबै राजनीतिक दलले शोक विज्ञप्ति जारी गरेका छन् । मुकेशको निधनमा बनेपा नगरले आज सबै प्रकारको सेवा बन्द ग¥यो । |
अर्घाखाँचीमा आगोले जलेर मृत्यु भएका चार जनाको सामूहिक दाहसंस्कार अर्घाखाँची । आगोले जलेर मृत्यु भएका अर्घाखाँचीको भुमिकास्थान नगरपालिका ढाकाबाङ्गका चार जनाको सामूहिक दाहसंस्कार गरिएको छ ।
खाकाबेँसीको बघमारे घाटमा सो सामूहिक दाहसंस्कार गरिएको भुमिकास्थान नगरपालिका–१ का वडाध्यक्ष गोपाल खनालले बताए । भुमिकास्थान नपा–२ ढाकाबाङ्गमा आगो निभाउने क्रममा घाइते भएका चार जनाको उपचारका क्रममा मृत्यु भएपछि सिङ्गो तिरतिरे गाउँ शोकमा डुबेको छ ।
मङ्गलबार दिउँसो भुमिकास्थान नगरपालिका–२ तिरतिरे गाउँमा सल्किएको आगो निभाउने क्रममा घाइते भएका एकै गाउँ बेल्वासे टोलका चारै जनाको मृत्यु भएको थियो । घाइतेलाई जिल्ला अस्पताल सन्धिखर्कमा उपचारपछि थप उपचारका लागि मिसन अस्पताल पाल्पा सिफारिस गरिएको थियो । पाल्पामा उपचार हुन नसकेपछि काठमाडौँ सिफारिस गरिएकामा उपचारका लागि लैजाँदै गर्दा केहीको बाटोमा र केहीको उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको थियो ।
आगलागीमा परी घाइते भएका भुमिकास्थान–२ तिरतिरे गाउँका ७२ वर्षीय पिताम्बर बेल्वासेको उपचारका लागि लैजाँदै गर्दा पाल्पाको रामपुरमा, ५५ वर्षीय पदम बेल्वासेको नारायणघाट नजिकै र ५२ वर्षीय घनश्याम बेल्वासेको काठमाडौँ कीर्तिपुरको बर्न अस्पतालमा र ३६ वर्षीय माधव वेल्वासेको उपचारका क्रममा सोही अस्पतालमा मृत्यु भएको हो । आगलागीमा परी घाइते भएकी २६ वर्षीया अस्मिता बेल्वासेको अवस्था सुधारोन्मुख छ । उनको पाल्पाको मिसन अस्पतालमा उपचार भइरहेको छ । |
गण्डकीमा मन्त्रालयको कार्यविभाजन हेरेफेर गण्डकी । गण्डकी प्रदेश सरकारले मन्त्रालयको कार्यविभाजन हेरेफेर गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेश सरकार (कार्यविभाजन) नियमावली, २०७४ को नियम ८ अनुसार मन्त्रालयको नयाँ कार्यविभाजन गरेको हो । सरकारको उक्त निर्णय आजै प्रदेश राजपत्रमासमेत प्रकाशित भइसकेको छ । यसअघिको कार्यविभाजन नमिलेको देखिएकाले हेरेफेर र समायोजन गरिएको सरकारका प्रवक्ता एवं बिनाविभागीय मन्त्री सरस्वती अर्याल तिवारीले जानकारी दिए ।
नयाँ कार्यविभाजनअनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालय मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गाभिएको छ । अबदेखि शान्ति सुरक्षा, विपद् व्यवस्थापन, प्रदेशसभा मामला, कानुन, सञ्चार आदिको कार्यजिम्मेवारीसमेत मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सम्हाल्नेछ ।
कृषि तथा जलस्रोत मन्त्रालयले कृषि, पशुपक्षी, ऊर्जा, सिँचाइ र खानेपानी हेर्दै आएकामा अब ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय र कृषि तथा भूमि व्यवस्था मन्त्रालय छुट्टाछुट्टै रहने छ ।
आर्थिक मामिला मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय र सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय भने यथावत कायम छन् ।
अघिल्लो सरकारले मन्त्रालयको सङ्ख्या १२ बाट घटाएर सातमा झारेको थियो । नामअनुसार कार्यप्रकृति नमिल्दा यसअघि समायोजन भएका मन्त्रालयलाई कार्यसम्पादनमा जटिलता थपिएको थियो । मन्त्रालयको कार्यविभाजन हेरफेर भइसकेकाले अब सरकारले एक–दुई दिनमै पूर्णता पाउने प्रवक्ता तिवारीले बताए ।
“गठबन्धन दलहरूबीच मन्त्रालयको बाँडफाँट पनि करिब टुङ्गिसकेको छ, अब मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुँदैन”, उनले भने । कांग्रेसले मुख्यमन्त्रीसहित चार, नेकपा (माओवादी केन्द्र)ले दुई र नेकपा (एकीकृत समाजवादी)ले एक मन्त्री पाउने जनाइएको छ ।
यही वैशाख १४ गते कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले यही वैशाख २१ गते प्रदेशसभाबाट विश्वासको मत पाइसकेका छन् । साठी सदस्यीय प्रदेशसभामा कांग्रेसका २७, माओवादी केन्द्रका सात र नेकपा (एकीकृत समाजवादी)का एक गरी ३५ प्रदेशसभा सदस्यले उनलाई विश्वासको मत दिएका थिए ।
हाल मन्त्रिपरिषद्मा मुख्यमन्त्री पाण्डेसहित बिनाविभागीय मन्त्रीका रूपमा माओवादी केन्द्रका प्रदेशसभा सदस्य सुशीला सिम्खडा र कांग्रेसका सरस्वती अर्याल तिवारी रहेका छन् । मन्त्रालयको सङ्ख्या सातबाट नबढाइने प्रदेश सरकारले प्रष्ट पारेको छ । |
चितवन राष्ट्रिय निकुञ्जमा दुई गैँडा मृत भेटिए चितवन । चितवन राष्ट्रिय निकुञ्जमा गएको दुई दिनमा दुई वटा गैँडा मृत भेटिएका छन् । वैशाख २६ र २७ गते ती गैँडा मृत भेटिएका हुन् ।
२६ गते कसरा क्षेत्रको तमोर ताल क्षेत्रमा चार महिनाको पोथी गैँडा र २७ गते सौरहाको पटना क्षेत्र राप्ती नदी किनारमा भाले गैँडा मृत अवस्थामा भेटिएको हो । भाले गैँडा दुई वर्ष छ महिनाको रहेको निकुञ्जका सहायक संरक्षण अधिकृत महेश न्यौपानेले जानकारी दिए ।
दुवै गैँडा प्राकृतिक कारणले मरेका हुन् । मृत भेटिएका गैँडाको खाग र खुर दुवै सुरक्षित अवस्थामा रहेको उनले बताए । |
शरणार्थी प्रकरणको ‘नेक्सस’लाई कारबाहीको दायरामा ल्याउँछौँ : उपप्रधानमन्त्री श्रेष्ठ काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भनेर ठगी गर्ने गिरोहको सबै ‘नेक्सस’लाई कारबाहीको दायरमा ल्याइने बताएका छन् ।
आज आफूसँग भेट गर्न आएका नेकपा (एकीकृत समाजवादी)का नेता तथा जनवर्गीय सङ्गठनका प्रतिनिधिसँगको छलफलमा उनले दोषीलाई कुनै पनि हालतमा नछाड्ने र निर्दोष कुनै पनि हालतमा नफस्ने गरी सरकार अगाडि बढेको बताए । “निर्दोष कुनै पनि हालतमा पर्ने छैनन्, दोषी छुट्ने छैनन्”, उनले भने ।
उपप्रधानमन्त्री श्रेष्ठले यस प्रकारको ठगी सामान्य भ्रष्टाचार मात्रै नभएर सङ्गठित अपराध भएको उल्लेख गरे । अझ त्योभन्दा बढी यो राज्यविरुद्धकै अपराध भएको पनि उनको भनाइ छ । “यो भ्रष्टाचार मात्रै होइन माथिदेखि तलसम्म मिलेर चलाइएको सङ्गठित अपराध हो । यो यतिमा मात्रै सीमित नभएर आफ्नो देशका नागरिकलाई अनागरिक बनाउने राज्यविरुद्धकै अपराध हो”, उनले भने ।
सो प्रकरणमा आफूलाई कुनै पनि नेताले दबाब नदिएको उल्लेख उल्लेख गर्दै उनले दबाब आए त्यसलाई थेगेरै भए पनि अनुसन्धान प्रक्रियालाई निष्कर्षमा पु¥याइने दृढता व्यक्त गरे । शरणार्थी प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट आफूले दह्रो साथ र आडभरोसा पाएको उनको भनाइ छ ।
“मलाई अहिलेसम्म शीर्ष नेताले यसलाई नपक्रनुस् उसलाई नपक्रनुस् भनेर दबाब दिनुभएको छैन । दोषी नफसोस् र निर्दोष नउम्कियोस् भन्ने नै उहाँहरूको कुरा छ,”, उपप्रधानमन्त्री श्रेष्ठले भने, “प्रधानमन्त्रीको निर्देशन र आडभरोसा छ । दोषीलाई कारबाही गरियोस् निर्दोस नपरुन् भन्ने छ सबैको कुरा ।”
उनले प्रहरीलाई निर्धक्क भएर अनुसन्धान अगाडि बढाउन निर्देशन दिएको जानकारी दिए । “राजनीतिक दबाबको सामना गर्ने म छु, तपाईंहरू पनि अन्य चलखेलमा नलागी अनुसन्धान गर्नुहोला भनेर प्रहरीलाई भनेको छु,”, उनले भने ।
भेटमा एकीकृत समाजवादीका नेताले शरणार्थी प्रकरणमा सरकारले प्रशंसनीय काम गरेको भन्दै बधाई दिएका थिए । यो अनुसन्धान प्रक्रियामा आफूहरूको पनि समर्थन रहने भन्दै उनीहरूले कुनै पनि दबाबको अगाडि नझुक्न उपप्रधानमन्त्री श्रेष्ठलाई सुझाव दिए । |
ऋषि जल उद्योगकाे प्रशोधित पानीको बोतलमा लेउ भेटियो सिरहा। सिरहामा प्रशोधित पिउने पानीको बोतलमा लेउ भेटिएको छ। गोलबजार नगरपालिका १० का वसन्त कुमार महतोले लहानकाे एक पान पसलबाट किनेको ऋषि जल नामक पानीको बोतलमा कागजको टुक्राजस्तो अखाद्य वस्तु देखिएको हो।
तिर्खाएका महतोले पानी किनेर बोतलकाे बिर्काे खाेल्न लाग्दा बोतल भित्र लेउ देखेपछि बोतल सुरक्षित राखि सञ्चारकर्मीहरुलाई देखाएका छन्। उनले बोतलमा भरिएको पानीमा समेत लापरबाही देखिनु जनस्वस्थ्यमाथिकाे खेलबाड भएको बताए । महतोले भने, ‘पछिल्ला दिनहरुमा मानिसले स्वास्थ्यको ख्याल गर्दै बोतलको पानी किनेर पिउने गरे पनि यसको विश्वसनीयता कम हुँदै गएको छ। पानीमा कहिले कागज, प्लाष्टिकको टुक्रा, मरेका किरा आदि देखिन्छ। यो मानव स्वास्थ्य माथिको खेलवाड हो।’
उनले यहाँ उत्पादन हुने पानीको गुणस्तर नियमनकारी निकायले समय सयमा चेक जाँच र नियमित अनुगमन नगर्दा उत्पादकहरुले लापर्वाही गरेको आरोप लगाए।
पानीमा भेटिएकाे विषयमा धारणा लिने क्रममा ऋषि जल उद्योगकाे आफूलाई म्यानेजर बताउने रामलोचन नामका व्यक्तिले ‘तपाइँले लिएको पानीमा फोहाेर पाइएको भए हामीलाई पठाइदिनुस्, कहाँबाट कमजोरी हुन गएछ त्यसलाई कारबाही गर्छु’ भन्ने जवाफ दिए ।
पानीमै फोहाेर कसरी पस्यो त ? भनेर जिज्ञासा राख्दा उनले ‘पत्रकारहरुको काम छैन, बजारमा खसीको मासु भनेर पाठी (बाख्रा) को मासु बेचिरहेको छ। तपाईंहरु देख्नुहुन्न। एउटा पानीको बोतलका कागजको टुक्रा देखियो भनेर यत्रो कुरा गर्नुहुन्छ’ भन्दै गैरजिम्मेवार जवाफ दिए ।
यस विषयमा सिरहा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले मानिसको स्वस्थयसँग खेलवाड गर्ने कसैको अधिकार नरहेको बताए । उनले भने, ‘हामी तत्काल अनुगमन गर्छौ, अनुगमन गरिसकेपछि ल्याब पठाउँछौ ल्याबको रिर्पोट के आउँछ, त्योअनुसार कानुन बमोजिम कारबाही हुन्छ।’न्युज कारखाना |
विद्यालय पुग्न घण्टौँ हिँड्नुपर्ने बाध्यतामा दुर्गमका विद्यार्थी कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्लाकी मनिषा साउदले यसपटक कक्षा आठ उर्तीण गरिन्। गाउँकै विद्यालयबाट कक्षा आठ उर्तीण गरेकी उनी ब्रह्मदेवस्थित सिद्धनाथ माध्यमिक विद्यालयमा कक्षा नौ मा भर्ना भएकी छन्।
अर्को गाउँको विद्यालय जानुपर्ने हुनाले आजभोलि मनिषाको दैनिकी फेरिएको छ । उनी बिहान सबेरै उठेर विद्यालयका लागि तयारी गर्छन्। विद्यालय आउजाउँ गर्न दैनिक चार घण्टा पैदल हिँड्नुपर्ने बाध्यता छ । “विद्यालय पुग्न दुई घण्टाको बाटो पैदल हिँड्नुपर्छ, बिहान आठ बजे विद्यालय सुरु हुन्छ”, उनले भने, “विद्यालय छोप्न बिहान छ बजे घरबाट निस्किन्छु, कहिलेकाहीँ त ढिलो भएर विद्यालय छुट्छ ।”
खल्लाकै पुष्पा बोहरा पनि ब्रह्मदेवकै सिद्धनाथ माध्यमिक विद्यालयमा पढ्छिन्। सो विद्यालयमा कक्षा १० मा यसपटक भर्ना भएकी उनको पनि दैनिकी यस्तै छ ।
“कक्षा नौँदेखि ब्रह्मदेवको विद्यालय पढ्न आएकी हुँ, विद्यालय आउजाउ गर्न दैनिकी चार घण्टा हिँड्नुपर्छ”, उनले भनिन्, “कच्ची बाटोमा अटो र बस चल्छ, तर दैनिक भाडा तिरेर जानसक्ने आर्थिक स्थिति छैन ।”भीमदत्त –९ अन्तर्गत चुरे क्षेत्रमापर्ने टुँडिखेल, खल्ला र मुसेट्टी दुर्गम बस्ती हुन । गाउँमा माध्यमिक शिक्षा अध्ययनका लागि विद्यालय नहुँदा त्यहाँका विद्यार्थी दुई घण्टा पैदल हिँड्नुपर्ने बाध्यतामा छन् ।
“बिदा १२ बजे हुन्छ, बालबालिका भोकाएर अन्तिम कक्षा नपढेर घर फर्किन्छन्”, भीमदत्त –९ खल्लाका सुरेन्द्र कठायतले भने, “कतिपयले त हिँड्नुपर्ने दुखले विद्यालय नै छोडेका छन् ।”पहाडी भेगको झल्को दिने चुरेका तीन बस्तीमा एउटा पनि माध्यमिक विद्यालय छैन । टुँडिखेलमा कक्षा पाँच, मुसेट्टीमा कक्षा तीन र खल्लामा कक्षा आठ सम्मको पढाइ हुने गरेको छ ।
यसले गर्दा यहाँका विद्यार्थी माध्यमिक शिक्षाका लागि ब्रह्मदेव झर्नुपर्ने बाध्यता रहेको उनी बताउँछन्। “यहाँसम्म पुग्ने कच्ची बाटो छ, बर्खामा त्यहीँ बाटो पनि बिग्रिन्छ”, उनले भने, “नानीबाबुहरुलाई जोखिम मोलेर विद्यालयसम्म पुग्छन् ।”
कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीले पनि यस्तै सास्ती व्यहोर्नु परेको छ । लामो बाटो पैदल हिँड्नुपर्ने हुनाले कतिपयले त आफ्ना छोराछोरी अध्ययनका लागि महेन्द्रनगरमा कोठा भाडामा लिएरसमेत बसाल्ने गरेका छन् । दैनिक आउन जान गरेर चार घण्टा पैदलमै खर्चिनु पर्दा विद्यालय समयबाहेक अन्य समय पढाइमा खर्चन नपाएको विद्यार्थीको गुनासो छ ।
“गाउँमा मावि तहसम्म पढ्ने विद्यालय वा अर्को गाउँको विद्यालयमा जान सुपथ मूल्यमा स्कुल बसको व्यवस्था भए सहज हुन्थ्यो”, बालिका उर्मिला कठायतले भनिन्, “लामो समय हिँडेर विद्यालय पुग्दा थकाइ लाग्छ र पढाइमा धेरै समय दिन सकिँदैन, गाउँमै सहज रूपमा पढ्ने व्यवस्था हुनुप¥यो ।”
आधारभूत तहको शिक्षा गाउँमै पढ्ने व्यवस्था भए पनि माथिल्लो तहको शिक्षा लिन अन्यत्र घण्टौँ हिँडेर जानुपर्दा निकै समस्या हुने गरेको उनको गुनासो छ ।रासस |
स्थानीय तहमा कर्मचारी अभावका कारण सेवा प्रभावित सिरहा। सिरहाका स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा विकास निर्माणको मुख्य समयमा सेवा प्रभावित भएको छ। सिरहाको विष्णुपुर गाउँ पालिका, मिर्चैया र धनगढीमाई नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुदा सेवाग्राहिको काम प्रभावित भएको हो।
भ्रष्टाचार मुद्दामा प्रमुख प्रशासकीय अधिकृत रविन्द्र कुमार महत निलम्वनमा परेपछि विष्णुपुर गाउँ पालिकाका अहिले प्रमुख प्रशासकीय अधिकृतविहीन छ।
मिर्चैया नगरपालिकाको जिम्मेवारी सम्हाल्दै आएका प्रमुख प्रशासकीय अधिकृत सुजितकुमार यादव सरुवा भएर वडियारपट्टी गाउँपालिका गएपछि मिर्चैया नगरपालिका पनि प्रमुख प्रशासकीय अधिकृत विहिन छ। उनीमाथि पनि अख्तियार दुरुपायोग अनुसन्धान आयोगले मुद्दा दर्ता गराएपछि निलम्वनमा परेका छन्।
दुवैजना प्रशासकीय अधिकृतविरुद्ध सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा कार्यरत रहेको अवस्थामा विकास निर्माणको काममा अनियमितता गरेको भन्दै आयोगले यहि बैशाख ७ गते अख्तियारले विशेष अदालतमा आरोप पत्र दायर गरेको छ। अख्तियारले दुवैजना प्रशासकीय अधिकृतसहित कर्मचारी जनप्रतिनिधी गरी २३ जनामाथि आरोप पत्र पेश गरेका छन्।
विष्णुपुर गाउँपालिकामा प्रशासकीय अधिकृत विहिन भएपछि दैनिक प्रशासनिक काम समेत प्रभावित भएको स्थानीयहरु बताउँछन्। विकास निर्माण लगायतका कामकाज तिव्रगतिमा हुनुपर्ने समयमा प्रशासकीय अधिकृत महत निलम्वनमा परेपछि पाइला पाइलामा समस्या आईरहेको गाउँ पालिका अध्यक्ष सत्यनारायण यादवले जानकारी दिए।
उनले भने, ‘अहिले विकास निर्माणको कामलाई तिव्रता दिनुपर्ने बेला हो, यस्तो अवस्थामा हाकिम छैन। हाकिम नभएकाले काम प्रभावित हुनेगरेको छ।’
उनले अहिले हाकिम नभएर समस्या झेल्नुपरेको छ, हाकिम खोज्न काठमाडौं आएको बताए। अध्यक्ष यादवले हाकिम खोजी भईरहेको भन्दै दुई तीन जनासँग कुराभएपनि को जाने हो अझै टुंगो भईनसकेको बताए।
प्रशासकीय अधिकृत निलम्वनमा परेको २० दिन बितिसक्दा पनि कार्यपालिका विवादका कारण निमित्त समेत तोक्न नसकेको एक वडाअध्यक्षले बताए। निमित्त समेत नहुँदा सामान्य प्रशासनिक कामसमेत प्रभावित हुने गरेको छ।
धनगढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपालप्रसाद वगालेमाथि कुटपिटको घटनापछि उनी कार्यालय आएका छैनन्। उनीमाथि यहि वैशाख १५ गते ग्राभेल व्यवसायीहरुले कार्यकक्षमै ढोका थुनेर कुटपीट र गालि व्यईजति गरेका थिए।
आर्थिक वर्षको दुईमहिनामात्र बाँकी रहेपनि अहिलेसम्म धनगढीमाई नगरपालिकाको आर्थिक वर्ष ०७९/८० को करिव ३० प्रतिशतमात्र काम सम्पन्न भएको छ। अहिले विकास निर्माणको कामलाई गतिदिनेबेलामा प्रमुख प्रशासकिय अधिकृत नहुदा बाँकी काम अगाढी बढ्न नसकेको नाम नबताउने शर्तमा एक कर्मचारीले जानकारी दिए। उनले भने, ‘अब प्रशासकीय अधिकृत आएर कामलाई गति दिए पनि ५० प्रतिशतभन्दा बढीकाम गर्न मुस्कील हुन्छ।’
त्यसैगरी मिर्चैया नगरपालिकामा पनि प्रमुख प्रशासकीय अधिकृत नहुदा विकास निमार्णको लगायतका कामकाज गराउन आउने सेवाग्राहीहरु मार्कामा परेका छन्।
करिब तीन महिना अगाडी प्रमुख प्रशासकीय अधिकृतको सरुवा भयो। प्रशासकीय अधिकृतको सरुवा पश्चात तत्काललाई नगरकार्यपालिकाले स्वास्थ्य शाखा प्रमुख विजय महतोलाइ आर्थिक कारोवार बाहेकका जिम्मा दिएको नगर प्रमुख श्रवण यादवले जनाएको छ।
उनले ‘ माथिल्लो निकायमा कुराकानी भइरहेको छ।, कर्मचारी खोजीकार्य गर्देछु। असार मसान्त आउन लाग्यो कार्मचारीको आभावले विकास निमार्ण कार्यपनि गर्न सकिरहेको छैन। प्रयासमै छु छिटै कुन न कुनै वेवास्ता मिलाउने बताए।’
मिर्चैया नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नरहेको कारण सेवाग्राही मात्र नभई पालिकामा कार्यरत कर्मचारीहरु समेत मार्कामा परेको एक जना कर्मचारीले बताए । उनले भने, ‘ प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएको दुई महिना वितिसक्दापनि मन्त्रालयले हाकिम पठाएनन्। हामीले दुई महिनादेखि तलब नै खान पाएका छैन्। तलव खान नपाएर धेरै नै समस्या भईरहेको छ।’
यसैगरी सिरहाका अधिकांश पालिकाहरुमा कर्मचारी अभावका कारण सेवा प्रभावित भईरहेका छन्। |
राप्ती बगरबाट गोहीका २५९ अण्डा संकलन चितवन। चितवन राष्ट्रिय निकुञ्जले राप्ती नदी किनारबाट गोहीका दुई सय ५९ अण्डा संकलन गरेको छ। बगरमा भेटिएकामध्ये नौ वटा गुँडबाट अण्डा संकलन गरिएको हो।
खोजीको क्रममा भेटिएका थप ६ वटा गुँडका अण्डा प्राकृतिमा छाडिएको छ। गोही प्रजनन केन्द्र हेर्दै आएका सहायक संरक्षण अधिकृत सान्तबहादुर मगरका अनुसार नौवटा गुँडमध्ये एउटा गुँडको १७ वटा अण्डा छिरलिएको अवस्थामा भेटिएका थिए। राप्ती नदीको खोरसोर घाटबाट सीतामाई घाटसम्म अण्डा संकलन गरिएको हो।
गोही प्रजनन केन्द्रमा ती अण्डा ल्याएर बालुवाभित्र चल्ला कोरल्नका लागि राखिएको छ। जेठ १५ पछि साउनसम्म ती अण्डाबाट बच्चा कोरल्ने गरिन्छ। प्रजनन केन्द्रका तीन वटा गुँडमा गोहीले अण्डा पारेको छ। मगरका अनुसार गत दुई वर्ष प्रजनन केन्द्रका अण्डाबाट बच्चा कोरलिएका छैनन्। प्रजनन केन्द्रमा दुई वटा भाले रहेका छन्। भालेमा समस्या भएका कारण अण्डाबाट बच्चा नकोरलिएको अनुमान गरिएको छ।
प्रजनन केन्द्रमा गोहीको संख्या बढी भएपछि यस वर्ष अण्डा थोरै मात्र संकलन गरिएको हो। गत वर्ष पाँच सय ६३ वटा अण्डा संख्या गरिएको थियो। ती अण्डाबाट चार सय ९६ बच्चा कोरलिएका थिए। यसरी कोरलिएका बच्चा बचाउन निकै जटिल हुने गर्दछ। हालसम्म आइपुग्दा तीमध्ये तीन सय हाराहारी मात्रै जीवित छन्।
मगरले प्रजनन केन्द्रमा छ सय ४० साना ठूला गोही रहेको भन्दै थोरै मात्र अण्डा संकलन गरिएको बताए। निकुञ्जले विसं २०३५ मा गोही प्रजनन केन्द्र स्थापना गरी प्रजनन केन्द्रमा हुर्काइएका गोहीका बच्चा नदीमा छाड्दै आएको छ। हरेक वर्ष बाढीले बगाएर गोही भारत पुर्याउने गर्दछ। यद्यपि संरक्षण कार्यलाई निकुञ्जले निरन्तरता दिएको छ। राप्ती नदी गोहीका लागि राम्रो मानिएको छ।
प्रजनन केन्द्रमा हुर्काएर हालसम्म एक हजार आठ सय ५२ वटा गोही विभिन्न नदीमा छाडिसकिएको छ। तीमध्ये सबैभन्दा बढी राप्तीमा एक हजार एक सय ३२ वटा गोही नदीमा छाडिएको छ। यस्तै नारायणीमा चार सय १९, बबईमा एक सय १०, सप्तकोशीमा एक सय १५, कर्णालीमा ४१ र कालीगण्डकीमा ३५ गोही छाडिएको छ।
पछिल्ला दिनहरुमा अन्य नदीमा संरक्षण हुन नसकेपछि अधिकांश गोही राप्ती र नारायणीमा मात्रै छोडिँदै आएको छ। नदी प्रदूषण रोक्न, जथाभावी नदीजन्य पदार्थ उत्खनन नगर्न र ठूला जाल प्रयोग नगर्न निकुञ्जले आग्रह गर्दै आएको छ। – रासस |
कञ्चनपुरमा रक्तचन्दन र श्रीखण्डको व्यावसायिक खेती महेन्द्रनगर। कञ्चनपुरको भीमदत्त नगरपालिका–२ भासीका विजयराज पन्त आठ वर्षदेखि श्रीखण्ड र रक्तचन्दनको व्यावसायिक खेती गर्दै आएका छन्। उनी श्रीखण्ड र रक्तचन्दनको व्यावसायिक खेती गर्ने सुदूरपश्चिमकै पहिलो व्यक्ति हुन्।
विसं २०५० यता झण्डै दुई दशकसम्म विभिन्न गैरसरकारी संस्थामा काम गरेका पन्त अहिले सबै काम छाडेर श्रीखण्ड, रक्तचन्दन र अगरउडको बिरुवा उत्पादनमा सक्रिय हुन्। “कृषिमा आधारित कुनै नयाँ व्यवसाय गर्ने सोचअनुसार अघि बढ्दै जाँदा यसमा राम्रो हुने देखेँ”, उनले भने। पन्तले २०७२ सालमा नेपाल चन्दन प्रालि फार्म खोले। वन विभागको अनुमति लिएका पन्तले भने, “रक्तचन्दनको खेतीबारे यहाँका किसान जानकार छैनन्।”
काठमाडौँमा छँदा विभिन्न बालीका विषयमा अनुसन्धानसमेत गरेका पन्तले सन् २०१६ मा दक्षिण भारतबाट तालिमसमेत लिए। हाल उनले झण्डै डेढ बिघा जग्गामा श्रीखण्ड, रक्तचन्दन र अगरउडको खेती ग रेका छन्।
“वार्षिक रु १८ लाखदेखि रु २० लाखसम्मको कारोबार हुन्छ”, पन्तले भने। महेन्द्रनगरेको भासीमा एक बिघा जमिन भाडामा लिएर उनले खेती गर्न थालेका हुन्। पन्तले भने, “व्यवसाय बढाउन जिल्ला वन कार्यालयदेखि प्रदेश सरकारसम्म धाए पनि कुहीँकतैबाट सहयोग प्राप्त भएन।”
सुदूरपश्चिममै पहिलोपटक श्रीखण्ड र रक्तचन्दनको व्यावसायिक खेती गर्न थालेका पन्तले उत्पादन गरेका बिरुवा स्थानीय बजार, संघसंस्थाका साथै वन कार्यालयले खरिद गर्ने गरेका छन्। “श्रीखण्डको भित्री काठ अहिले रु तीन हजार पाँच सयदेखि रु चार हजारसम्ममा बिक्री हुने गरेको छ”, उनले भने, “रक्तचन्दनको कारोबार भने हालसम्म यहाँ भएको छैन।”
सुरुआतमा खेती गर्ने उद्देश्यले व्यवसाय थालिए पनि पछि जमिन नपाउँदा नर्सरी बनाएर बिरुवा उत्पादनमा लागेको पन्त बताउँछन्। “अहिले खेतीबाट भएको मुनाफाको ५० प्रतिशत दिने गरी जमिन भाडामा लिएको छु”, उनले भने। महेन्द्रनगरकै उल्टाखाममा अर्का एक किसानले पनि आठ कठ्ठामा यो व्यवसाय सुरुआत गरेका उनले जानकारी दिए।
कृषिमा आधारित व्यवसाय गरेर आत्मसन्तुष्टि मिलेको उल्लेख गर्दै पन्तले कानुनीरूपमा स्वीकृति लिएर व्यवसाय गर्न कुनै समस्या नरहेको बताए। उनले आफ्नो फार्ममा एक जनालाई रोजगार दिएका छन्। व्यावसायिक कृषिले आर्थिक अवस्थामा सुधार आउनसक्ने सम्भावना धेरै भए पनि त्यसतर्फ खासै ध्यान पुग्न नसकेको उनको भनाइ छ।
बिरुवा उत्पादन भए पनि बजारको अभाव रहेको पन्तले बताए। सुरुआतमा रु तीन लाखको लगानीमा खेती सुरु गरेका उनले बिरुवा उत्पादन बढाउँदै लैजाने योजना रहेको बताए। ६ वर्षअघि रोपेका चार सय रक्तचन्दन र श्रीखण्डका बिरुवा हाल हुर्किरहेका छन्।
धार्मीक कार्यमा रक्तचन्दन र श्रीखण्डको बढीजसो प्रयोग गरिन्छ। रक्तचन्दनको बिरुवा रोपेको १८ वर्षमा तयार हुने पन्त बताउँछन्। एक बिरुवाको तौल तीन क्विन्टलदेखि पाँच क्विन्टलसम्म हुनुका साथै विभिन्न किसिमका आयुर्वेदिक औषधि उत्पादनमा यसको प्रयोग हुने गरेको छ। श्रीखण्डको डाँठ र जराबाट बहुमूल्य तेल उत्पादन गर्न सकिन्छ। – रासस |
दोस्रो जनआन्दोलनका ‘जिउँदो शहिद’ मुकेश कायस्थको निधन बनेपा। दोस्रो जनआन्दोलनका घाइते ‘जिउँदो सहिद’ मुकेश कायस्थको निधन भएको छ । बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा बुधबार साँझ मृत्यु भएको अस्पतालले जनाएको छ ।
२०६२-०६३को १९ दिने जनआन्दोलनको क्रममा वि.स. २०६२ चैत २७ गते बनेपामा भएको आन्दोलनमा प्रहरीले चलाएको गोली कञ्चटमा लागेको थियो । गोलीका कारण उनी अचेत बनेका उनलाई ११ महिनासम्म अस्पतालमा राखिएको थियो ।
गोलीका कारण उनलाई पक्षघात भएको थियो, जसका कारण त्यसयता उनी हिँडडुल समेत गर्न सक्दैनथे। गोली लाग्दा मुकेश १४ वर्षका मात्र थिए । बनेपा नगरपालिका वडा नम्बर ८ स्थायी घर भएका मुकेश २०४८ साल भदौ ९ गते काभ्रेको बनेपामा मिरा कायस्थ र कृष्णमान कायस्थको छोराको रुपमा जन्मिएका मुकेश कायस्थ गोली लागेको १७ बर्ष लाग्दा पनि अर्धचेत थिए ।
सरकारले मुकेशको उपचार खर्च वापत १५ हजार मासिक, एक सुसारेको लागि ६ हजार २ सय भत्ता र एक नर्स नियमित उपलब्ध गराउँदै आएको थियो । |
बाजुराको बिछ्या केन्द्रविन्दु भएर भूकम्प काठमाडाैं। बाजुरा जिल्लाको बिछ्या केन्द्रविन्दु भएर भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाजुराको बिछ्या केन्द्रविन्दु भएर आज बिहान ५ बजेर १५ मिनेट जाँदा ४ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएको हो।
यसअघि बाजुराकै बिछ्या केन्द्रविन्दु भएर यही वैशाख २३ गते ४ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको थियो।
पछिल्लोे समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी छ । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रको रुपमा लिने गरिन्छ। |
सूर्तीजन्य प्रदार्थको कर बढाउन पहल गर्ने स्वास्थ्यमन्त्रीको भनाइ काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले सूर्तीजन्य प्रदार्थको कर बढाउन पहल गर्ने बताए । स्वास्थ्य पत्रकारसँगको अन्तक्रिया कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले नेपालमा अर्थतन्त्र बिग्रिएको बेला सूर्तीजनय पदार्थ कर बढाएर क्यान्सरका बिरामीको उपचारमा राहत पुग्ने बताए ।
सूर्तीजन्य प्रदार्थको कर नेपालमा एसियाको सबैभन्दा थोरै रहेको छ । विश्व स्वास्थ्य संगठनले सूर्तीजन्य प्रदार्थको कर ७५ प्रतिशतसम्म बढाउनुपर्ने सुझाव दिर्दै आएको छ ।
नेपालमा सूर्तीजन्य पदार्थको कर न्यून रहेको र नेपालमा अर्थतन्त्र बिग्रिएको बेला कर बढाएमा क्यान्सर रोगको उपचारमा सहज हुनुका साथै सूर्तीजन्य प्रदार्थको सेवनमा पनि कमी आउने उनको भनाइ छ ।
सूर्तीजन्य पदार्थ नखाएर स्वास्थ्य जोगिने र खाए राज्यको कर बढ्ने उनको भनाइ छ। साथै मन्त्री बस्नेतले स्वास्थ्य बिमालाई प्रभावकारी बनाउँदै लैजाने बताए । मन्त्री बस्नेतले स्वास्थ्यको बजेटको सिलिङ ४० प्रतिशत बजेट घटेको बताउँदै आफू मन्त्रालय आएदेखि बजेट बढाउन पहल गरेको दाबी गरे । |
भारतीयको कुटाइबाट नेपाली युवाको मृत्यु भैरहवा । सीमावर्ती भारतीय गाउँमा शङ्कास्पदरूपमा नेपाली युवा मृतावस्थामा भेटिएका छन् । मृत भेटिनेमा रोहिणी गाउँपालिका–२ बस्ने २६ वर्षीय रविकुमार यादव रहेका छन् । यादवको शव हात बाँधिएको र शरीरमा चोटपटक लागेको अवस्थामा भेटिएको छ ।
स्थानीयवासीका अनुसार रविको मानसिक अवस्था ठीक थिएन । अतिविपन्न अवस्थाका यादव घर नजिकैको सीमा क्षेत्रमा आउजाउ गरी रहन्थे । सोही क्रममा उनी आज बिहान भारत महाराजगञ्ज जिल्लाको भगवानपुर बजार पुगेका थिए । एक जना स्थानीयको घरमा पसेपछि भारतीयले यादवको हात बाँधेर कुटपिट गरेको बुझिएको रोहिणी गाउँपालिका–७ का राजन यादवले बताए । “मृतकको आमा पनि पछिपछि जानुभएको थियो, मेरो छोराको मानसिक अवस्था ठीक छैन भन्दाभन्दै पनि उनीहरूले कुट्न छोडेनन्”, यादवले भने, “भारतीयको कुटपिटबाट उहाँको मृत्यु भयो ।”
मृतक यादवको शव भारतीय प्रहरीले परीक्षण गरेको छ । रुपन्देही प्रहरी प्रमुख भरतबहादुर विश्वकर्माले घटना जानकारीमा आएको र यसबारे थप अनुसन्धान भइरहेको बताए । |
म्याग्दीमा ‘लम्की स्किन’ देखियो म्याग्दी । म्याग्दीमा पालिएका गाईगोरुमा ‘लम्की स्किन’ रोग देखिएको छ । देशका विभिन्न स्थानमा महामारीका रुपमा फैलिएर पशुधनको क्षति गरेको ‘लम्की स्किन’ म्याग्दीमा पनि भित्रिएको हो ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीका प्रमुख जीवनप्रसाद आचार्यले रघुगङ्गा गाउँपालिकाको पाखापानी, झिँ, अन्नपूर्णको हिस्तान दोसल्ले, मङ्गलाको खुम्ल्याह र धवलागिरि गाउँपालिकाको मुनामा लम्की स्किन देखिएको बताए ।
“कृषकले जानकारी गराएपछि गोठमा पुगेर बिरामी गाईगोरुको नमूना सङ्कलन गरी पोखरास्थित पशु रोग प्रयोगशालामा पठाएका थियौँ”, उनले भने, “प्रयोगशालाले लम्की स्किन भएको पुष्टि गरेको छ । कृषकलाई सतर्कता अपनाउन र लम्की स्किनविरुद्धको खोप लगाउन अनुरोध गरेका छौँ ।”
गाईलाई ज्वरो आउने र शरीरमा फोका देखापर्ने, पछि झोक्राउँदै जाने, घाँस, खोले नखाने र अन्त्यमा मर्ने गरेका कृषकले बताएका छन् । पाखापानी औलाका हुमबहादुर पुनले बर्खेबाली लगाउने बेलामा गोरु मर्दा समस्या भएको बताए । उनका अनुसार करिब एक महिनायता म्याग्दीका विभिन्न स्थानमा लम्की स्किनको समस्या देखिएको छ । यो रोग हावाका माध्यमबाट सर्ने बताइएको छ । साथै झिँगाबाटसमेत यो रोगको सङ्क्रमण बढ्ने बताइएको छ । यो रोगको उपयुक्त औषधि नभए पनि खोप पहिचान भएको छ ।
ठूला फार्म र गोठमा लम्की स्किन भित्रिन नदिन खोप लगाउन थालिएको बेनी नगरपालिका–७ का कृषक कृष्ण शर्माले बताए । खोपको माग अद्यावधिक भएकाले भनेको समयमा नपाएको कृषकले बताएका छन् । यो रोगका कारण गाई गोरुमा समस्या आउँदा दूध उत्पादनमा असर पर्ने जनाइएको छ । म्याग्दीका भैँसीमा भने अहिलेसम्म लम्की स्किन देखिएको छैन । |
नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारवाही गर्नुपर्ने भन्दै काठमाडौंमा प्रदर्शन काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीलाई कडा भन्दा कडा कारवाही गर्नुपर्ने भन्दै काठमाडौंमा प्रदर्शन भएको छ ।
नक्कली भुटानी शरणार्थीको काण्डको सक्कली छानविन गर्नुपर्ने भन्दै बृहत् नागरिक आन्दोलनले काठमाडौंको भद्रकालीमा प्रदर्शन गरेको हो । उनीहरुले कसैको दवावमा दोषीले उन्मुक्ति नपाउने गरि कारवाही गर्न माग गरेका छन् ।
बृहत् नागरिक आन्दोलनमा राष्ट्रिय स्वतन्त्र पार्टीले समेत समर्थन गरेको थियो । प्रदर्शनमा सहभागी रास्वपा केन्द्रीय सदस्य लिमा अधिकारीले नक्कली भुटानी शरणार्थी प्रकरणमा सबै जनताहरु सरकारको साथमा रहेको भन्दै खुट्टा कमाउने नहुनेमा जोड दिए ।
प्रदर्शनमा सहभागीहरूले हाम्रो कर मिलेर लुट्न बन्द गर, भ्रष्टाचारको पेटमा, मानव तस्करीको दश हात–टोपबहादुरलाई ओलीको साथ, शरणार्थीको प्रकरणको सक्कली छानबिन होस लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए । |
नेपालगञ्जको किङ्स क्लबबाट हतियारसहित तीन जना पक्राउ नेपालगञ्ज । नेपालगञ्जको किङग्स क्लबबाट हतियारसहित बाँके प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । गएराति साढे ११ बजे नेपालगञ्ज–१२ स्थित सुर्खेत रोडमा रहेको किङग्स क्लबमा पेस्तोलसहित आएर झगडा गर्दै गरेको अवस्थामा तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।
क्लबमा झगडा हुँदै गरेको सूचना प्रहरीलाई आए लगत्तै गएको बाँके प्रहरीको टोलीले बर्दियाको बाँसगढी नगरपालिका ८ का २८ वर्षीय सुमन रिजाल, गेरुवा गाउँपालिका ५ का ३२ वर्षीय सागर शाह र कोहलपुर ९ का २९ वर्षीय धर्म पुन मगरलाई पक्राउ गरेको जिल्ला प्रहरी बाँकेले जनाएको छ ।
झगडा गरिरहेको अवस्थामा पक्राउ परेकाहरूसँग सोधपुछ गर्दा उनीहरूमध्ये सुमनले प्रहरी आएको थाहा पाइ क्लबको बाथरुममा लुकाएको म्यग्जिनमा लोड गरिएको एक राउन्ड गोलिसहितको अमेरिकन पेस्तोल प्रहरीले बरामद गरेको जानकारी दिएको छ ।
उनीहरूलाई नियन्त्रणमा लिएर प्रहरीले उनीहरु सवार बा ११ च ८०० नम्बरको कार खानतलासी गर्दा एउटा खुकुरीसमेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
बाँके प्रहरीले उनीलाई हिरासतमा राखेर हातहतियार मुद्दामा थप अनुसन्धान गरिएको जानकारी दिएको छ । |
महाकालीमा बालुवा छान्नेको पीडा : ‘बालुवा नछाने भोकै बस्नुपर्छ’ बेदकोट। गिट्टी, बालुवाको स–साना थुप्रा, नजिकै ठडिएका छन् छान्ने जाली। गिट्टी, बालुवा उत्खनन गर्न नदीमा ठाउँठाउँमा खाल्डा पारिएका छन्।
उखरमाउलो तराईको गर्मीकै बीच असिनपसिन भएर कोही उत्खननका लागि खाल्डामा पसेका छन्। सँगै नदीजन्य पदार्थ उत्खननका लागि कुटो, फरुवा छ, उनीहरुसँग। कोही खाल्डामा पसेर उत्खनन गर्दैछन् त, कोही गिट्टी, बालुवा छुट्याउन छान्ने जालीसम्म ढुवानी गर्ने काममा व्यस्त छन्।
भीमदत्त नगरपालिका–९ ब्रह्मदेवस्थित महाकाली नदीमा यसरी गिट्टी, बालुवा छान्नेको आजभोलि ताँती देखिन्छ । नदी तटीय क्षेत्रका विपन्न परिवारको आम्दानीको स्रोत हो, गिट्टी, बालुवा।
ब्रह्मदेवकी कलावती पाललाई महाकालीमा बालुवा छान्ने काम गर्न थालेको पाँच वर्ष भइसक्यो। दिनभरि महाकालीमा बालुवा छाने मात्रै बेलुका उनको चुलोमा आगो बल्छ। “घरपरिवारको सबै खर्च बालुवा छानेरै चलेको छ, अरू केही काम पाइँदैन”, उनी भन्छिन्, “बालुवा नछाने भोकै बस्नुपर्ने अवस्था छ।”
कलावतीका श्रीमान् मानसिंह पनि महाकालीमै बालुवा छान्ने काम गर्छन्। उनीहरुका चार छोराछोरी छन्। “खेतीपाती गर्न पर्याप्त जमिन छैन, बस्नलाई छुप्रो मात्रै छ”, मानसिंहले भने, “महाकालीकै भरमा जीवन चलेको छ, गहुँ, चामल किनेरै खानुपर्छ।”
महाकालीमा बालुवा छान्ने काममा ब्रह्मदेवकी चन्द्रा भुलको जीवनको आधा समय घर्कियो। घरबाट बिहान खाना खाएर निस्किएर बेलुका अबेरसम्म महाकालीमा गिट्टी, बालुवा छान्ने उनको दैनिकी नै हो। “यहीँ गिट्टी, बालुवा संकलन गरेर बिक्री गर्छौं, हाम्रो आम्दानीको स्रोत भनेकै यही हो”, उनले भने, “खाद्यान्न खरिददेखि बालबच्चाको विद्यालयको खर्च यही कमाईले व्यहोर्न पर्छ।”
सात/आठ महिना बालुवा छानेर कमाएको पैसाले घरखर्च जोहो गर्न धौ–धौ हुने गरेको धौली नेगी बताउँछन्। “गिट्टी छानेर बिक्री गरेको पैसाले खर्च जोहो गर्नै मुस्किल पर्छ, नुन, तेल, खाद्यान्न सबै किनेरै खानुपर्छ”, उनले भने, “कमाईको स्रोत यहीँ एउटा छ, सबै खर्च व्यवस्थापन गर्न मुस्किल पर्छ।”
कात्तिक सुरुआतदेखि जेठ अन्तिमसम्म नदी तटीय क्षेत्रका विपन्न परिवार बालुवा छान्ने काम गर्ने गरेका छन्। नदीमा बाढी आउने समयमा बेरोजगार हुने हुनाले परिवार पाल्नै समस्या हुने गरेको उनीहरुको गुनासो छ।
“कात्तिकदेखि जेठसम्म मात्रै नदीमा काम पाइन्छ, अरू समय बेरोजगार बस्नु पर्दा घरखर्च चलाउन समस्या हुन्छ”, चन्द्रा भुलले भनिन्, “गाउँमा ऋण निकालेर खर्च चलाउँछौँ, सिजनमा कमाएर ऋण तिर्छौं।”
कञ्चनपुरका नदी तटीय क्षेत्रका विपन्न समुदायका स्थानीय बालुवा, गिट्टी बिक्री गरेर जीविकोपार्जन गर्ने गरेका छन्। गिट्टी, बालुवा बेचेर मासिक रु १५ हजारसम्म आम्दानी गर्ने गरेको उनीहरुको भनाइ छ।
बालुवा प्रतिट्रली रु एक हजार पाँच सय र गिट्टी रु दुई हजार सात सयमा बिक्री गर्ने गरेको दूरा भुलले बताए। “एक मान्छेलाई ट्रली बनाउन हप्ताभन्दा बढी नै लाग्छ, दुई/तीनजना मिलेर गरे दुई/तीन दिनमा पनि ट्रली तयार हुन्छ”, उनले भने, “ट्र्याक्टर धनी यहीँ आएर गिट्टी, बालुवा किन्छन्।”
वर्षौंदेखि गिट्टी, बालुवाको मूल्य नबढेको उनले बताए। “सुरुमा पनि हामीले यतिमै बिक्री गथ्र्यौं, सबैतिर महँगाइ छ”, उनले भने, “तर अझै गिट्टी, बालुवाको मूल्य बढेको छैन।”
कात्तिकदेखि मंसिरसम्म गिट्टी प्रतिट्रली रु तीन हजारसम्म बिक्री गर्ने गरिएको रेश्मा भुलले बताइन्। “कहिलेकाहीँ बालुवा, गिट्टी बिक्री नहुँदा सस्तोमै पनि बिक्री गर्नुपर्छ”, उनले भनिन्, “काम नपाउँदा कर्जा निकालेर खर्च चलाउनुपर्छ, सिजनमा कमाएको पैसा कर्जा तिर्नमै जान्छ।” – रासस |
मुगु अस्पतालमा औषधि अभाव, किन्ने पैसा छैन मुगु। कर्णालीका १० जिल्लामध्ये सबैभन्दा बढी मुगुका नागिरकहरु स्वास्थ्य क्षेत्र बञ्चित हुँदै आइरहेका छन् । विगतका वर्षहरुमा रोग र भोगले थला परिरहने मुगुवासी अहिले सामान्य औषधि सेवा समेत पाउन तड्पिनुपरेको छ ।
सामान्य नागरिकलाई सिटामोलसमेत किन्न पैसा नभएको सुन्दै आए पनि अहिले भने जिल्ला अस्पताल मुगुमा औषधि किन्ने पैसा छैन । नेपाल सरकार बाट ९८ प्रकारका ओैषधि निःशुल्क रुपमा वितरण गरे पनि मुगाली नागिरक र अस्पतालमै यी ओैषधिकै अभाव रहेको छ । दर्जनौँ प्रकारका औषधि अभाव भइरहुँदा अस्पतालसँग भने औषधि किन्ने पैसा नै नभएको जिल्ला अस्पताल मुगुले जनाएको छ ।
‘गत वर्ष औषधि खरिदको लागि छुट्याइएको १० लाख रुपैयाँ गत कात्तिक महिनासम्म पुग्यो । तर, अहिले औषधि खरिद गर्ने पैसा छैन,’ निमित्त स्वास्थ्य सेवा ब्यवस्थापक भुवन पुरीले भने,’ अस्पतालमा औषधि नहुँदा कतिपय बिरामीलाई सेवा दिनै सकिँदैन । औषधि खरिदको लागि विभिन्न निकाय तथा सामाजिक विकास मन्त्रालयसँग पहल गर्दा पनि सुनुवाई भएन ।’
नेपाल सरकार राष्ट्रिय बिमा बोडले बिमा गरेका बिमितहरुलाई निःशुल्क रुपमा उपचार गर्ने व्यवस्था गरेको छ । उपचारबापत पाउने रकम हालसम्म निकासा नगर्दा ओैषधि अभाव देखिएको र मासिक रुपमा चार लाख खर्च हुने गरेको प्रमुख पुरीले बताए । |
रामपुरको जनविकास प्राविमा विद्यार्थी भर्ना शून्य, विद्यालय समायोजनको तयारी पाल्पा। सुन्दा पनि जो–कसैलाई आश्चर्य र पत्यार नलाग्न सक्ला, विद्यालयमा एक जना विद्यार्थी पनि भर्ना नभएको खबर । रामपुर नगरपालिका–३ स्थित लामटाङमा रहेको जनविकास प्राथमिक विद्यालयमा यस शैक्षिकसत्रमा विद्यार्थी भर्नादर शून्य छ ।
यहाँ वैशाख २६ गतेसम्म एक जना विद्यार्थी पनि विद्यालयमा भर्ना नभएको पाइएको छ । विद्यार्थी भर्ना हुन आउने आश्वासन पाएर माथिल्लो निकायमा जानकारी नदिइएको तर शैक्षिकसत्र सुरु भएको महिनाको अन्तिमसम्म पनि विद्यार्थी भर्ना हुन कोही पनि नआएको प्रधानाध्यापक देवबहादुर ठाडाले बताए।
गत शैक्षिकसत्रमा कक्षा १ मा चार, कक्षा २ मा दुई, कक्षा ३ मा चार, कक्षा ४ मा एक, कक्षा ५ मा दुई गरी जम्मा १३ जना विद्यार्थी भर्ना भएको विद्यालयले जनाएको छ । हाल यहाँ स्थायी दरबन्दीमा एक, करार दरबन्दीमा एक शिक्षक र एक कार्यालय सहयोगी छन् । बसाइँसराइ गरेर अन्यत्र गएपछि गाउँमा बसेर पढ्ने विद्यार्थी छैनन् ।
शैक्षिकसत्र सुरु भएको एक महिना पूरा हुन लाग्दा विद्यालयमा एक जना पनि विद्यार्थी भर्ना नभएको खबर सुनेलगत्तै रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा, उपप्रमुख बालकुमारी थापा, प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपाने, शिक्षा अधिकृत विकल काफ्लेलगायतको टोलीले मङ्गलबार अनुगमन गरेका छन्। अनुगमनका क्रममा नगरप्रमुख थापाले विद्यालयमा पढ्ने विद्यार्थी नै नभएपछि तत्काल नजिकको पायक पर्ने विद्यालयमा समायोजन गरेर सञ्चालन गर्ने बताए।
“विद्यालयमा विद्यार्थी भर्ना नभएपछि समयमै हामीलाई सम्बन्धित निकायबाट जानकारी आएन, ढिलो भएपछि आफूले सो जानकारी पाएपछि तत्काल विद्यालय अनुगमन गरेको छु”, उनले भने, “जतिसक्दो चाँडो विद्यालय व्यवस्थापन समितिको बैठक बसेर अन्यत्र विद्यालय सामायोजन गर्न विद्यालयलाई ताकेता गरेको छु ।”
रामपुर नगरपालिकाभित्र कम्तीमा २० विद्यार्थी सङ्ख्या भएको विद्यालयमा न्यूनतम दुई शिक्षक दरबन्दी व्यवस्था गरिएको र विद्यार्थी नै नभएपछि यसै वडाको छिमेकी विद्यालय सीता माध्यमिक विद्यालय समायोजन गर्ने तयारी गर्न विद्यालयलाई आग्रह गरेको शिक्षा अधिकृत विकल काफ्ले बताउँछन्।
यस शैक्षिकसत्रको वैशाख २ गतेदेखि नै सुरु भएको विद्यालयमा शिक्षक, कर्मचारी दिनभर विद्यालय खोलेर बस्ने, कार्यालय समय सकिएपछि हाजिर गरेर घर जाने कार्यमात्र भएको छ । शिक्षक कर्मचारीलाई पनि विद्यार्थी नहुँदा दिनभर त्यत्तिकै खाली समय बिताउन कठिनाइ परेको शिक्षक शर्मिला रेग्मीले बताइन्।
रामपुर नगरपालिकाको माथिल्लो भेग भएकाले यहाँ विशेषगरी जनजाति, दलित समुदायका बालबालिकाको बर्चस्व रहन्थ्यो । सहरबजार आसपास क्षेत्रमा बसाइँसराइ जाने कार्यले गाउँका विद्यालयमा पछिल्लो समय विद्यार्थी सङ्ख्या अति न्यून छन् । चारैतिर घेराबार गरिएको करिब चार रोपनी क्षेत्रफलमा तीन भवनमा ११ वटा कक्षाकोठा रहेका छन् । भौतिक पूर्वाधार राम्रो रहेता पनि विद्यार्थी सङ्ख्या नै नभएपछि विद्यालय समायोजन गरिनुपर्ने स्थितिमा पुगेको छ ।
विसं २०२१ माघ १९ गते स्थापना भई पठनपाठन हुँदै आएको यस विद्यालय अहिले विद्यार्थी कोही पनि नभएपछि शिक्षणकार्य बन्द छ । गाउँमा जनघनत्व बाक्लै हुँदा धेरैलाई शिक्षा दिएको विद्यालय आज जनघनत्व कम हुँदै गर्दा विद्यालय बन्द हुने स्थिति आएको छ । यहाँको जनविकास प्राथमिक विद्यालयजस्तै अन्य ठाउँमा पनि गाउँमा रहेका सामुदायिक विद्यालय बन्द हुने अवस्थामा छन् ।रासस |
अर्घाखाँची आगलागी अपडेट : घाइते भएका चार जनाको मृत्यु अर्घाखाँची। अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा आगो निभाउने क्रममा जलेर गम्भीर घाइते भएका चार जनाको मृत्यु भएको छ।
आगलागीमा परी घाइते भएका भुमिकास्थान–२ तिरतिरे गाउँका ७२ वर्षीय पिताम्बर बेल्वासे, ५५ वर्षीय पदम बेल्वासे, ५२ वर्षीय घनश्याम बेल्वासे र ३६ वर्षीय माधव बेल्वासेको मृत्यु भएको हो। पिताम्बरको उपचारका लागि लैजाँदै गर्दा पाल्पाको रामपुरमा मृत्यु भएको हो भने पदमको अस्पताल लैजाँदै गर्दा चितवनको नारायणघाट नजिक पुग्दा मृत्यु भएको हो।
यस्तै घनश्याम र माधव उपचारका लागि काठमाडौँको कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए।
मंगलबार दिउँसो भूमिकास्थान–२ तिरतिरे खोलागाउँका पदम बेल्वासेको घरमा आगो निभाउने क्रममा पाँच जना घाइते भएका थिए। आगलागीबाट २६ वर्षीया अस्मिता बेल्वासेसमेत घाइते भएका छन्। – रासस |
कोशीको विरोधमा आक्रमक बन्दै आन्दोलन : दमकमा गोली चल्यो, १० सुरक्षाकर्मी घाइते झापा। कोशी प्रदेश नामाकरण खारेजीको माग गर्दै सुरू भएको दोसो चरणको आन्दोलनको पहिलो दिनमा झडप हुन पुगेको छ।
झापाको दमकमा मंगलबार साँझ राँके जुलुससहित बिरोध प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र प्रहरी बिच मुढभेड हुदाँ आन्दोलनले उग्र रुप लिएको छ। झडपको क्रममा प्रहरीले गोलीसमेत चलाएको छ।
सो आन्दोलनमा परी १० जना प्रहरी र २ जना आन्दोलनकारी घाइते हुन पुगेका छन्।
जिल्ला प्रहरी कार्यालय झापका अनुसार सो झडपमा परेर इलाका प्रहरी कार्यालय दमकका डिएसपी मनोजकुमार लामासहित १० सुरक्षाकर्मी घाइते हुन पुगेका छन् भने प्रदर्शनकारीतर्फ पनि दुई जना घाइते भएका छन्। यसरी घाइते हुने प्रदर्शनकारीहरूमा दिक्षा क्षेत्री र गजेन्द्र फागो रहेका छन्। दुवैतर्फको घाइतेको स्थानिय अस्पतालमा प्रारम्भिक उपचार गरिएको थियो।
दमकको पश्चिम बस स्ट्याण्डबाट गणतन्त्र चोकतर्फ ठूलो संख्यामा प्रदर्शनकारीहरू मसालसहित सडकमा निस्किएका थिए। सुरक्षाकर्मीले प्रदर्शनकारीहरूले बोकेको मसाल खोस्न खोजे पछि स्थिति तनावग्रस्त बन्न पुगेको स्थानीयले जनाएका छन्। |
१३ वर्षीया बालिकालाई बलात्कार गर्ने युवकलाई १८ वर्ष कैद सप्तरी । सप्तरीमा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवकलाई आज १८ वर्ष कैद सजाय भएको छ ।
जिल्ला न्यायाधीश डा राजेन्द्रकुमार आचार्यको इजलासले राजविराज नगरपालिका–१२ विषहरियाका २१ वर्षीय कलदीपकुमार खंगलाई १८ वर्ष कैद सजाय भएको सप्तरी जिल्ला अदालतले जनाएको छ । आरोपितले रु सात लाख जरिवाना तिर्नुपर्ने र रु एक लाख ५० हजार पीडितलाई क्षतिपूर्ति दिनुपर्नेसमेत फैसला भएको अदालतका सूचना अधिकारी भरतमणि पोखरेलले बताए ।
आरोपितले २०७९ मङ्सिर १ गते राति बलात्कार गरेको भन्दै पीडितका बुबाले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । आरोपितले ललाइफकाई छिन्नमस्ता गाउँपालिका–६ लोखरममा बलात्कार गरी भागी फरार भएको पीडितले बताएकी छन् ।
आरोपित २०७९ मङ्सिर २० गते पक्राउ परेका थिए । सप्तरी जिल्ला अदालतका जिल्ला न्यायाधीश हरिश्चन्द्र इङ्गनामको इजलासको आदेशमा आरोपित गत पुस १८ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् । |
लिफ्टिङ सिँचाइले हैरान भए गाउँले धनकुटा। हस्तान्तरण भएको तीन महिनादेखि पाइप फुट्न थालेपछि तमोर नदीको पानी तानेर खेती गर्ने सहिदभूमि गाउँपालिका गोपालपुर गाउँका किसानको सपना त्यसै तुहिएको छ ।
सङ्घीय सरकारको रु एक करोड ८५ लाख सहयोगमा आर्थिक वर्ष २०७६र०७७ मा गाउँका एक सय ५० घरधुरीका लागि सिँचाइ सम्पन्न भएको थियो तर आयोजना पूरा भएर जिम्मा लिएको तीन महिना नबित्दै पाइप फुटेर अहिलेसम्म पूर्णरूपमा बन्न नसक्दा गाउँका किसान समस्यामा परेका छन् ।
प्रारम्भमा नै दुई घण्टाभन्दा बढी सिँचाइका लागि पानी नपाएका गाउँवासीले सिँचाइको पाइप फुट्न थालेपछि अब उनीहरूले लिफ्टिङ पानीको आस गर्न छाडेका छन् ।
परीक्षणकालमा विभिन्न समस्या देखिएकाले निर्माण कम्पनीको एक वर्षसम्मको अथक प्रयासपछि ठीक भएपछि उपभोक्ता समितिका अध्यक्ष विष्णु राईले आयोजना जिम्मा लिएका थिए। तर उहाँकानका अनुसार आयोजना हस्तान्तरण भएको तीन महिनापछि पाइप फुटेपछि अहिले गाउँका १० देखि १५ घरले मात्र आंशिक पानीको खपत गरिरहेका छन् ।
“जिम्मा लिँदा सबै एक सय धाराबाट पानी झरेको थियो”, राईले भने, “अफिसबाट धेरै सर आउनुभएको थियो, सरहरूले ठीक छ भनेपछि जिम्मा लिएका हौँ ।” फलामको जिआइ पाइप जोडिएको ठाउँ (जोर्नी) पटक–पटक फुट्ने तर आफूहरूसँग बनाउने साधन नहुँदा सिँचाइ आंशिक मात्र सञ्चलनमा रहेको राईले जानकारी दिए ।
नदीबाट गाउँसम्मको करिब नौ सय मिटर भर्टिकल सिँचाइका लागि नौवटा स्टेशनबाट एक सय १० मिटर फलामे पाइप र सात सय मिटर रबरको पाइप विस्तार गरिएको छ । सोलार सिस्टमबाट सञ्चालित सो लिफ्टिङ आयोजनाको पाइपभन्दा पम्प बढी हर्स पावरको भएकाले पाइप फुटिरहेको राईको अनुभव छ ।
आधा क्षेत्रसम्म पानी लिफ्ट गर्दा पानीको बहाव थाम्न नसकेर भू–क्षय हुने र पूरै लिफ्टिङ गर्दा पाइप फुट्ने भएकाले आयोजना पूर्णरूपमा सञ्चालनमा आउन नसकेको उनको भनाइ थियो ।
गाउँमा सिँचाइ आयोजना बनेको एक वर्ष पनि पूरा नभई पाइप फुटेर सिँचाइ गर्न नपाएको गुनासो सो गाउँका ६७ वर्षीय सोमबहादुर राईले गुनासो गरे। “पाइप फुटेर हामीले बनाउन सकेनौँ”, उनले भने, “खै माथिबाट बनाउन आउँछ भन्थे १ कहिले आउने हुन्, थाहा छैन ।”
त्यस्तै साही गाउँका ५३ वर्षीय अैनबहादुर राईले सिँचाइ आयोजना प्रारम्भदेखिनै राम्ररी नचलेको गुनासो गरे। चालीस रोपनीमा खेती गरिरहनुभएका राईले पहिला पनि एक रोपनीभन्दा बढी क्षेत्रफलमा दुई घण्टाभन्दा बढी सिँचाइ गर्न नपाएको सुनाए।
पटक–पटक पाइप पड्कने र बनाउने क्रमसँगै हाल गाउँका आठ÷दश घरले आंशिक सिँचाइ गरिरहेको उनले जानकारी दिए। अब पाइप लाइन बनिहाले पनि गाउँका लागि पर्याप्त सिँचाइ नपुग्ने भएकाले उक्त सिँचाइ आयोजनाको खासै अर्थ नरहेको उनको भनाइ थियो ।
“यो पानीले हामीलाई खान पनि पुग्दैन”, राईले भने। आयोनाको अनुगमनको जिम्मा पाएको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयका धनकुटाका अधिकृत बुद्धिमान लिम्बूले आयोजना मापदण्डअनुसार नै बनेको जानकारी दिए।
सोलारबाट निस्कने विद्युत् भोल्टेजको घटबढका कारण पानी लिफ्टिङमा समस्या भएको उनले जानकारी दिए। गाउँवासीले आयोजनाका विरुद्ध अख्तियारमा मुद्दा दायर गरेकाले एक वर्षसम्म आयोजना मर्मत हुन नसकेको लिम्बूले जानकारी दिए ।
पाइपको जोर्नी फुट्ने समस्या देखिएकाले त्यसलाई चाँडै वेल्डिङ गरेर सिँचाइ आयोजना सञ्चालन गरिने उनको भनाइ थियो। |
सफा हिमाल अभियान, २९ हजार किलो फोहर सङ्कलन काठमाडौं । नेपाली सेनाको अगुवाइमा भइरहेको ‘सफा हिमाल अभियान–२०२३’ अन्तर्गत परिचालित टोलीले सगरमाथा, ल्होत्से, बरुन्चे तथा अन्नपूर्ण हिमाल सफाइ कार्य जारी राखेको छ ।
तीन वटा समूहमा परिचालित टोलीले सगरमाथा, ल्होत्से सात हजार छ सय ३२, बरुन्चे १८ हजार पाँच सय २०, अन्नपूर्णबाट तीन हजार दुई सय ५० गरी जम्मा २९ हजार चार सय दुई किलो फोहर सङ्कलन गरिसकेको नेपाली सेनाले जनाएको छ ।
उक्त अभियानमा संलग्न जनशक्तिलाई हौसला प्रदान गर्नुका साथै हालसम्म भइरहेको कार्य प्रगतिबारे जानकारी लिन बलाध्यक्ष रथी सीताराम खड्काले यही वैशाख २३ गते अन्नपूर्ण आधार शिविरको भ्रमण गरेका थिए । अन्नपूर्ण हिमाल सफाइ कार्यक्रमलाई पोखरा महानगरपालिकाले पनि सहयोग पु¥याएको छ ।
अन्नपूर्ण हिमाल सफाइमा संलग्न टोलीका सदस्य सह–सेनानी सुमन पाण्डे, प्यूठ मानसिंह चौधरी, सिपाही नवराज राना र सिपाही ज्ञानेन्द्र डाँगीले मिति २०८० वैशाख ०४ गतेको बिहान उक्त हिमालको सफल आरोहण गरेको नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
गत चैत १४ गते प्रधानसेनापति प्रभुराम शर्माको अभियान सुरुआतको घोषणा गरेको र अभियानबाट करिब ३५ टनअर्थात् ३५ हजार किलो फोहर सङ्कलन गर्ने लक्ष्य राखिएको छ ।
विश्व वातावरण दिवस (जुन ५) मा समापन हुने यस अभियानले विश्वव्यापी चुनौतीको रुपमा रहेको वातावरण प्रदूषण तथा विश्व तापमानको असरलाई न्यून गर्न सचेतना फैलाउने एवं हिमालमा थुप्रिएको फोहर हटाउन केही सहयोग पुग्ने विश्वास नेपाली सेनाले लिएको छ । |
कोशीको अधिकांश जिल्लामा फैलियो ‘लम्पी स्किन’ झापा । कोशी प्रदेशको अधिकांश पहाडी जिल्लामा गाई गोरुमा लाग्ने ‘लम्पी स्किन’ नामक सङ्क्रामक रोगको महामारी फैलिएको छ । इलाम र झापा जिल्लामा मात्रै चार सय ६२ वटा पशु रोग सङ्क्रमणबाट मरेका छन् ।
इलाम, उदयपुर, धनकुटा, सङ्खुवासभालगायतका पहाडी जिल्लामा यसको प्रकोप फैलिरहेको कोशी प्रदेश, उद्योग, कृषि तथा सहकारी मन्त्रालयका वरिष्ठ पशु चिकित्सक डा दीपा दियालीले बताइन् । यो रोग लागेको पशुमा उच्च ज्वरो आउने, झोक्राउने, खाना अरुचि हुने र दूध कम दिने लक्षण देखा पर्दछ । छालामा पाँच सेन्टिमिटरसम्मको गोलो गिर्खा र घाउ देखा पर्नु यसलाई चिन्ने सजिलो लक्षण हो ।
नाक र मुखबाट तरल पदार्थ काढ्ने ‘लम्पी स्किन’ बाट सङ्क्रमित पशुहरू अन्त्यमा मर्छन् । मोरङ जिल्लामा तीन वर्षअघि नेपालमा पहिलोपल्ट देखा परेको यो रोगको उत्पत्ति अफ्रिकामा १० वर्ष भएको मानिएको छ । क्याप्री पक्स नामक भाइरसको सङ्क्रमणबाट लाग्ने यो रोगबाट बचाउन विश्वभर खोप लगाउने प्रचलन रहेको पशु चिकित्सक डा दियालीले बताइन् । नेपालमा भने निजी क्षेत्रले मात्र यो खोप बेच्ने गरेको छ ।
झापा र इलामका २७ हजार पशुमा सङ्क्रमण
इलाम जिल्लाका दशै वटा र झापाका १५ वटै पालिकामा ‘लम्पी स्किन’ को प्रकोप देखा परिसकेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाका प्रमुख शीतल भट्टराईले बताइन् । केन्द्रलाई झापा र इलाम दुवै जिल्ला हेर्ने जिम्मेवारी तोकिएको छ ।
उनका अनुसार इलाममा २१ हजार गाईगोरु ‘लम्पी स्किन’ बाट सङ्क्रमित रहेको र तीन सय ४६ वटा गाईगोरु यही रोगबाट मरिसकेका छन् । झापामा छ हजार चार सय ९५ वटा गाईगोरु यसबाट प्रभावित भएकोमा एक सय १६ वटा पशु मरिसकेका छन् । इलामको देउमाई नगरपालिका र झापाको बाह्रदशी गाउँपालिकामा सबैभन्दा बढी गाईगोरु रोगबाट प्रभावित भएको पाइएको छ । देउमाईमा १० हजार पशुमा रोग सङ्क्रमण भइसकेको र तीमध्ये दुई सय ५० वटा पशु मरिसकेको उनले जानकारी दिइन् ।
झापाको बाह्रदशी गाउँपालिकामा एक हजार दुई सय गाईगोरु सङ्क्रमित भएकोमा ७० वटा मरेको बताइएको छ । झापाको गौरादहमा तीन हजार, कचनकबलमा एक हजार, दमकका सात सय र शिवसताक्षीमा दुई सय वटा गाईगोरुमा ‘लम्पी स्किन’को सङ्क्रमण देखा परेको छ ।
इलामको इलाम नगरपालिकामा तीन हजार दुई सय, माङ्सेबुङमा तीन हजार, सूर्योदयमा दुई हजार तीन सय, माइजोगमाईमा एक हजार पाँच सय वटा गाईगोरुमा यो रोगको सङ्क्रमण देखिएको छ । ‘लम्पी स्किन’ रोग लागिसकेपछि भरपर्दो उपचार छैन । रोगी पशुको ¥याल, शरीरबाट निस्कने तरल पदार्थ र लामखुट्टे तथा भुसुनाको टोकाइबाट एक पशुबाट अर्को पशुमा रोग सङ्क्रमण हुने वरिष्ठ पशु चिकित्सक दियालीले बताइन् ।
रोग रोकथाम र नियन्त्रणका लागि सरकारी तहबाट जनचेतना जगाउनेबाहेक अरु उपाय अवलम्बन गरेको पाइएको छैन । इलाममा हालै भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाका तर्फबाट ‘लम्पी स्किन’ बाट पशुहरूलाई जोगाउने विषयमा किसानहरूसँग सचेतनामूलक गोष्ठी गरिएको थियो । गोष्ठीमा रु ६० हजार मूल्य बराबरको औषधि वितरण गरिएको केन्द्रकी प्रमुख भट्टराईले जानकारी दिइन् । “गोठको सरसफाइ राम्ररी गर्न र रोगबाट मरेका पशुलाई सुरक्षितरूपमा छिटो गाड्ने व्यवस्था मिलाउन किसानलाई अपिल गरेका छौँ”, भट्टराईले भनिन्, “खोप लगाउँदा रोगबाट गाईवस्तुलाई जोगाउन सकिन्छ ।”
झापा र इलामका पशुपालक किसानहरूले ‘लम्पी स्किन’ पशुहरूलाई जोगाउन आफ्नै खर्चमा खोप लगाउन थालेका छन् । रोग लागिसकेका गाईवस्तुलाई गोठ सार्दा र बिक्रीका कारण नयाँ ठाउँमा पुग्दा ‘लम्पी स्किन’ को सङ्क्रमण टाढासम्म छिटो गतिमा फैलिरहेको पशु विज्ञहरू बताउँछन् ।
कोशी प्रदेशका अधिकांश जिल्लामा यसको प्रकोपले महामारीकै स्वरूप लिइसक्दा समेत सरकारीस्तरबाट नियन्त्रणका लागि ठोस कार्यक्रम आउन नसकेको इलामको पशुपतिनगरका कृषक भीमबहादुर भण्डारीले बताए । सरकारले रोगको रोकथाममा विशेष सहयोग गर्नुपर्ने बताउँदै उनी भन्छन्, “पहाडी जिल्लामा गाईभैँसी पालेर जीविका धानिरहेका छौँ, भटाभट रोगले मर्न थालेपछि किसानले ठूलो क्षति व्यहोर्नु परिरहेको छ ।”
कोशी प्रदेश, उद्योग, कृषि तथा सहकारी मन्त्रालयकी वरिष्ठ पशु चिकित्सक डा दियालीले रोगबाट प्रभावित र मरेका पशुको विवरण मागिए पनि विभिन्न जिल्लाबाट मन्त्रालयमा विवरण आउन बाँकी नै रहेको बताइन् । |
वालिङले दिन थाल्यो श्रम स्वीकृति वालिङ। स्याङ्जाको वालिङ नगरपालिकाले वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिलाई श्रम स्वीकृति दिन सुरु गरेको छ। वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिले स्थानीय तहबाटै श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति सेवा पाएपछि स्थानीयवासीलाई सहज भएको हो।
वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिले यसअघि श्रम स्वीकृति लिन वैदेशिक रोजगार विभाग वा प्रदेशस्थित श्रम कार्यालय जानुपर्ने बाध्यता रहेकोमा नगरपालिकाबाटै यो सेवा पाइने भएपछि सहज भएको नगरप्रमुख कृष्ण खाणले बताए।
श्रम स्वीकृतिका लागि अनलाइन प्रणालीको सुरुआत भएसँगै वैशाख १ गतेदेखि यो सेवा स्थानीय तहले नै दिन पाउने व्यवस्था भएकाले नगरपालिकाले सोमबारदेखि काम सुरु गरेको उनले जानकारी दिए।
श्रम स्वीकृति लिने व्यक्तिले राहदानी, एकप्रति पासपोर्ट साइजको फोटो, पारिवारिक विवरण, बैंक खाता, व्यक्तिगत इमेल आइडी, सम्पर्क नम्बर, रोजगारदाताले दिएको सम्झौतापत्र, राहदानीको प्रतिलिपीसहित नगरपालिकाको रोजगार सेवा केन्द्रमा निःशुल्क अनलाइन आवेदन दिन सकिने रोजगार संयोजक पवन बस्यालले बताए।
वैदेशिक रोजगार कल्याणकारी कोष, सामाजिक सुरक्षा कोष र बीमा रकमबापत तिर्नुपर्ने शुल्क तोकिएको बैंक खातामा दाखिला गरेपछि श्रम स्वीकृतिका लागि प्रक्रिया अगाडि बढ्ने उनको भनाइ थियो। “प्रक्रिया पूरा गरेपछि श्रम स्वीकृति पत्र अनलाइनबाटै प्राप्त हुन्छ” संयोजक बस्यालले भने, “आवेदन स्वीकृत भएको वा आवश्यक विवरण अपुग भएको जानकारी पनि अनलाईनमार्फत नै सम्बन्धित सेवाग्राहीले प्राप्त गर्न सक्ने ब्यवस्था छ।”
श्रम स्वीकृतिसम्बन्धी अन्य जानकारी स्थानीय तहको रोजगार सेवा केन्द्रमार्फत पनि बुझ्न सकिने नगरपालिकाले जनाएको छ। यसअघि श्रम स्वीकृति लिन काठमाडौँ जानुपर्ने बाध्यता रहे तापनि अहिले आफ्नै पालिकाबाट उक्त सेवा पाइएकाले सहज भएको वडा नं १३ का सुरज श्रेष्ठले बताए।
वैदेशिक रोजगारीका लागि साउदी अरेविया जान लाग्नुभएका उहाँले नगरपालिकाबाट पुनःश्रम स्वीकृति लिने उनी पहिलो व्यक्ति हुन्। – रासस |
मनाङमा सडकको ट्र्याक खोलिदै मनाङ। हिमाली जिल्ला मनाङको नार्पाभूमि गाउँपालिकामा ट्र्याक खोलिदै छ। सडक विस्तार भएको २० वर्षपछि विकट क्षेत्रको रुपमा रहेको नार्पाभूमिमा सडकको ट्र्याक खोल्न थालिएको हो।
प्रदेश सरकार र पालिकाले बजेट छुट्याएपछि नार्पाभूमिमा विष्फोटक पदार्थ प्रयोग गरी पहाड फोरेर सडकको ट्र्याक खोल्न सुरुआत गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शिशिर घिमिरेले जानकारी दिए। सडक सञ्जालबाट वञ्चित सो पालिकामा चट्टान फुटाउन विष्फोटक पदार्थ प्रयोग गरिँदै छ।
जिल्ला सुरक्षा समितिको बैठकबाट निर्णय भएपछि आजदेखि विष्फोटक पदार्थ प्रयोग गरी नार्पाभूमिको कोतो–च्याँखु सडक खण्डको ट्र्याक खोल्न थालिएको उनले बताए। विष्फोटक पदार्थ प्रयोग गर्ने समयमा पशुचौपाय नछोड्न र पैदलयात्रुलाई आवतजावत नगर्न अनुरोध गरिएको छ।
नार्पाभूमिमा सडक सञ्जालका लागि ट्र्याक खोल्न स्थानीय सरकार र प्रदेश सरकारबाट बजेट विनियोजन भएको छ। केही भागमा ट्र्याक खोल्ने काम भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश पाख्रिनले जानकारी दिए। ट्र्याक खोल्न गण्डकी प्रदेश सरकारले रु ५० लाख र गाउँपालिकाले रु ९० लाख विनियोजन गरेको छ। – रासस |
विदेशबाट फर्किएका लोकबहादुर पशुपालनमै व्यस्त, गाउँमै रोजगारी र आम्दानी गर्दै बाँके । लोकबहादुर सिंह ठकुरी चारवर्ष अगाडि साउदी अरबबाट घर फर्किए। खजुरा गाउँपालिका–२ निवासी उनी घर फर्किएलगत्तै सुबेदार द्रोण कृषि फार्म प्रालि फार्म सञ्चालन गरेर व्यवसाय गर्न थाले। करिब २४ वर्ष विदेशमा बसेका लोकबहादुर अहिले पशुपालनमै व्यस्त र खुसी छन्। “दुःख पनि छ रमाईलो पनि छ”, उनले भने, “२४ वर्ष अरुको देशमा बसेर अनुभव बटुलेको छु । गरे आफ्नै देशको माटोमा सुन फलाउन सकिन्छ।”
तीनवटा भैँसीबाट आफ्नो व्यवसाय सुरु गरेका लोकबहादुरले सुरुमा युट्युबमा हेरेर प्रेरणा मिलेको बताए। अहिले उनीसँग पाँच वटा भैंसीका साथै २६ वटा बाख्रा र तीन सयभन्दा बढी कुखुरा छ । कुखुरा उत्पादनका लागि आफ्नै उपकरण पनि छ । विदेशमा रहेकै बखत युट्युबमा भैँसीको गोबरबाट ग्यास उत्पादन गरेको देखेर प्रेरणा जागेको उनले बताए।
दैनिक ३० लिटर दूघ नजिकैको रिमझिम बजारमा बिक्री गर्दै आएका लोकबहादुर दूधको माग दिनहुँ बढेकाले भैँसीसँगै बाख्रा र कुखुरालाई थप्दै जाने योजनामा छन्। उनले भने, “मसँग रहेको बाख्रा र कुखुराको व्यवसाय पनि राम्रै चलेको छ । आगामी दिनमा बाख्रा र कुखुरालाई थप्दै लैजाने योजना बनाएको छु ।”
पशुपालनको माध्यमबाट स्थानीय बजारको मागलाई आपूर्ति गर्न सक्ने गरी उन्नत जातको बाख्रा उत्पादन तथा बिक्री वितरण गर्ने योजना रहेको अर्का द्रोण कृषि फार्म प्रालिका प्रोप्राइटर अर्जुन शाहीले बताए। छ वर्ष विदेशमा काम गरेर फर्किएका उनी पनि लोकबहादुरले झै पशुपालन व्यवसाय गर्दै आएका छन्।
“राज्यले व्यवसाय सञ्चालनका लागि अनुदान, ऋणलगायत सुविधा दिनुपर्छ”, अर्जुनले भने, “गाउँमै रोजगारी र आम्दानी लिन यस्ता व्यवसाय कोसेढुङगा सावित हुनेछ ।” पच्चिस कठ्ठा जमिनमा फार्म सञ्चालन गर्नुभएका अर्जुनको करिब रु ८० लाख लगानी भैसकेको छ भने पाँच जनाले रोजगारी पाएका छन् ।
“राज्यले दिने सुविधा किसान सामु पुग्नै सक्दैन साना किसानलाई उत्प्रेरणा दिनुपर्ने ठाउँमा झण्झटिलो प्रक्रियाले किसान झनै पीडित भएका छन्”, उनले भने।
किसान र राज्यको दूरी नजिक भएमात्र किसानले पाउने सेवा सुविधा पारदर्शी हुन्छ । किसानले उत्पादन गरेको वस्तु राज्यले सिधैँ किन्ने वातावरण मिलाउन सके नेपालका अधिकांश युवा पशुपालन तथा कृषि पेसामा आकर्षित हुने अर्जुनको भनाइ थियो ।
उक्त पालिकाको पशु शाखामा कार्यरत तारा खड्काले स्थानीय तहले पशुपालनका लागि पारदर्शीरुपले सहयोग गर्दै आएको बताए। खजुरा पशु शाखाबाट स्थानीय किसानलाई चाहिने कृषि औँजार, अनुदान, कृषि बीउविजन, घाँसलगायत सेवा सुविधा भने मागअनुसार प्रदान गर्न नसकिएको तर पशु व्यवसायका लागि नियमबमोजिम अनुदान प्रदान गर्दै आएको उनले जानकारी दिए। |
लुम्बिनी प्रदेश सरकारले शुक्रवार भित्रै पूर्णता पाउँछ: सन्तोष पाण्डे (भिडियो) दाङ। लुम्बिनी प्रदेश सरकारका प्रवक्ता सन्तोष पाण्डेले शुक्रवार भित्रै सरकारले पूर्णता पाउने बताएका छन्। रिपोर्टर्स क्लव नेपाल लम्बिनी प्रदेश कार्यालय बुटवलले कानुन दिवसको अवसरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै पाण्डेले जनताले अनुभव गर्ने गरी काम गर्ने टिम सहितको सरकार बिस्तार गर्ने बताए।
उनले दिगो विकासको अवधारणा सहित सरकार अघि बढ्ने जिकिर गर्दै संघीयतालाई पूर्ण रुपमा कार्र्यान्वयन गर्न प्रदेश सरकारलाई पूर्ण अधिकार दिनुपर्नेमा जोड दिए। नीति नियमलाई पालना गरी आम नागरिकलाई सुशासनको प्रत्याभुति दिलाउने गरी मुख्यमन्त्री डिल्ली बहादुर चौधरी नेतृत्वको सरकार लाग्ने उनको भनाइ छ ।
त्यस्तै नेकपा एमालेका लुम्बिनी प्रदेशसभा प्रमुख सचेतक तुलसी प्रसाद चौधरीले नेकपा एमाले कानुनी राज्यको पूर्ण पालना र सुशासनको पक्षमा रहेको जिकिर गर्दै जुन सुकै भष्ट्रचारीलाई संरक्षण गरेर नबस्ने जिकिर गरे । उनले एमाले भागबण्डाको राजनीति स्वीकार नगर्ने भन्दै आर्थिक संकटको अवस्थामा पनि मन्त्रालय थप्नु सुशासन विरोधी काम भएकोे दाबी गरे।
त्यस्तै कांग्रेसका नेतृ निर्मला क्षेत्रीले प्रदेश सरकारले जनताको हकहितका लागी काम गर्नुपर्ने बताए । उनले प्रदेश सरकार नीति नियम र कानुनको अभावका कारण अपूर्ण रहेको उल्लेख गर्दै संघीयता कार्यान्यवनका लागी प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिए।
हेर्नुहोस् भिडियो:
|
गर्मीले मधेश प्रदेशको जनजीवन प्रभावित, तापमान ४० डिग्री सेल्सियस पुग्यो रौतहट। रौतहटसहित मधेश प्रदेशका जिल्लामा तापमान ४० डिग्री सेल्सियस पुग्दा यहाँको जनजीवन प्रभावित बनेको छ । प्रचण्ड गर्मीको कारण तापक्रम बढ्दै जाँदा मधेशमा जनजीवन प्रभावित बनेको हो । सप्तरी राजविराजको ४० दशमलव चार डिग्री सेल्सियस ताप मापन गरिएको जल तथा मौसमपूर्वानुमान महाशाखाले जनाएको छ ।
तराई, मधेश तथा चुरे क्षेत्रमा तापक्रम बढ्दो क्रममा रहेकाले गर्मीका कारण हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन स्वास्थ्य कार्यालय रौतहटले अनुरोध गरेको छ । गर्मीका कारण तराई, मधेशका सप्तरी तथा यस आसपासका स्थानीयवासीको दैनिकी प्रभावित बनेको छ । बजार सुनसान देखिन थालेका छन् ।
मानिस मात्र नभई चराचुरुङ्गी र अन्य जनावर पानी एवं शीतल खोज्न थालेका छन् । रौतहटमा तातो बढ्दै जाँदा दैनिक ज्यालादारी गरी खाने वर्गलाई समस्या पर्न थालेको छ । केही दिनअघिदेखि बढेको अत्याधिक गर्मीले जनजीवन अस्तव्यस्त भएको छ । वायुमण्डलीय तापक्रममा वृद्धिसँगै तातो हावा चल्नुले सर्वसाधारणलाई घरबाहिर निस्कन समस्या उत्पन्न भएको छ । अत्याधिक गर्मीले बजार, शैक्षिक संस्था, सरकारी कामकाज प्रभावित भएको छ ।
चन्द्रनिगाहपुरस्थित सकारी अस्पताल र निजी अस्पतालमा गर्मीका कारण अस्पतालमा आउने बिरामीको चाप पनि बढ्दै गएको छ । सामान्य अवस्थामा दैनिक १५० देखि दुई सयसम्म बिरामी आउने यस अस्पतालमा अहिले गर्मीकै कारण दैनिक ३५० सम्म बिरामी आउने गरेको अस्पतालका प्रमुख डा. अभिनन्दन श्रीवास्तवले बताए । उनले अधिकांश झाडापखाला, वान्ता र भाइरल खोकीका बिरामी अस्पताल आउने गरेको जानकारी दिएका छन् ।
अहिले अत्याधिक गर्मीका कारण बच्चाको मुख सुक्ने, पानीको कमी हुनेलगायतको समस्या देखिएका कारण उनीहरूलाई झोलिलो पदार्थ खान दिन चन्द्रनिगाहपुरमा रहेको सिम्स अस्पतालका डाक्टर राम किशोर साहले आग्रह गरे । तातो हावाले वायु प्रदूषण हुने र यसले बालबालिका, वृद्धवृद्धा र बिरामीको श्वासप्रश्वासमा असर पु¥याउने चिकित्सकहरू बताउँछन् । यस्तो गर्मीमा अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन, निस्कनुपरे छाता ओढेर हिँड्न र प्रशस्त पानी पिउनुपर्ने स्वास्थ्यकर्मीहरुले बताए । |
मकैको खोस्टाबाट टोपी र झोला उत्पादन, विदेशमा निर्यात तनहुँ। व्यास नगरपालिका–५ की प्रतिमा श्रेष्ठ मकैको खोस्टाबाट टोपी र झोला बनाउन व्यस्त छिन्।
उनी भन्छिन् “कच्चा पदार्थ विदेशबाट ल्याएर सिकेको सीपले बजार आफैँ खोज्नुपर्ने हुन्छ, गाउँघरमा फालिएका खेर जाने कच्चा पदार्थ प्रयोगबाट सिकेको सीपले आम्दानी हुने हुँदा प्रेरित र प्रोत्साहन मिलेको छ ।”
विभिन्न सीप सिक्दा कच्चा पदार्थ विदेशबाट आयात गर्नुपर्ने र बजार पाउन पनि मुस्किल हुने उनको भनाइ छ । “गाउँघरमा प्रशस्त पाइने मकैको खोस्टा खेर गइरहेको वस्तु हो, गाईवस्तु भए दिने नत्र त्यसै पोलेर खेर जाने वस्तुको उपयोग गरेका छौँ”, उनी भन्छिन्, “विभिन्न तालिम तथा सीप सिके पनि बजारको व्यवस्थापन गर्न सकस हुन्छ तर गाउँघरमा खेर गएको वस्तु उपयोग हुने र सिक्दै गर्दादेखि नै यसबाट आयआर्जनमा जोडिएका छौँ ।”
गाउँघरमा उत्पादित कच्चा पदार्थ खेर गइरहेको हुन्छ, कच्चा पदार्थ उपयोग गरी टोपी र झोला विदेश निर्यात गर्दा मुलुकको बिग्रिएको अर्थतन्त्रलाई सहयोग पुग्ने श्रेष्ठको भनाइ छ । “हरेक वस्तु बनाउँदा कच्चा पदार्थ विदेशबाट आयात गर्नुपर्छ, स्थानीयस्तरमा खेर जाने मकैको खोस्टाबाट आम्दानी हुने र विदेशबाट माग हुँदा प्रोत्साहन मिलेको छ”, उनले भनिन्।
यो सीपले गाउँघरको उत्पादन भएका कच्चा पदार्थ उपभोगबाट टोपी र झोला बनाउन सकिने भएपछि बनाउने र कच्चा पदार्थसमेत बिक्री हुने उनले बताइन्। सिक्ने क्रममा गाउँघर भएकाले सबैले खोस्टा दिएर सहयोग गरेको उनले बताइन्। “सीप सिकिसकेपछि भने तालिम सिकाउने प्राविधिक सहयोग रहेको ओम राजश्री मल्टी एग्रो प्रालि काठमाडौँले मकैको खोस्टा खरिदका लागि व्यवस्थापन गर्ने जनाएको छ”, श्रेष्ठले भनिन्।
प्लाष्टिकजन्य पदार्थको बढी उपयोगले वातावरणमा प्रदूषण भइरहेको अवस्थामा मकैको खोस्टाबाट बनेका वस्तु प्रयोगले वातावरणमैत्री बनाउने अपेक्षा रहेको उनले बताइन्।
“प्लाष्टिकजन्य पदार्थको उपयोग वातावरणमैत्री छ, प्लाष्टिकजन्य पदार्थ जलाउँदा क्यान्सरजस्ता जघन्य रोगबाट ग्रसित हुनुपर्ने अवस्था छ, प्लाष्टिकका वस्तुको उपयोग न्यूनीकरणका लागि मकैको खोस्टाबाट बनेको टोपी, झोला प्रभावकारी रहेको छ”, उनले भनिन्। तालिम लिए पनि बजारको अभावले सिकेको सीप खेर जाने हुन्थ्यो, यस तालिम प्रदान गर्ने संस्थाले नै बजारीकरणको लागि व्यवस्थापन गरेको उनले बताइन्।
त्यस्तै तारा सिलवालले सिक्दै गरेको अवस्थामा घरकै सामग्रीले आयआर्जन गर्न प्रोत्साहन मिलेको बताइन्। फालिएका वस्तुबाट पनि आयआर्जन गर्न सकिन्छ भन्ने थाहा पाएअनुसार मकैको खोस्टाबाट टोपी र झोला बनाउन सिकेको र आयआर्जन भइरहेको उनले बताइन्। फालिएको वस्तुबाट झोला र टोपी बनाएर सन्तुष्ट तुल्याएको उनको भनाइ थियो ।
तालिम आयोजक र तालिम प्रदान गर्न सहयोग गर्ने संस्थाको समन्वयमा कम्पनी स्थापना गरी उत्पादनलाई निरन्तरता दिने उनले बताए। “आफैँले बोेकेर हिँड्दा सबैले विदेशबाट आएको झोला हो भनेर प्रशंसा गरेको र यसको प्रवद्र्धनमा सहयोग पुगेको छ, हामीलाई पनि माग गरिदिनु भन्ने गर्छन्”, उनले भनिन्, “आफैँले बनाएको भनेपछि माग आउन थालेको छ ।”
घरमा बसिरहेको अवस्थामा खेर गएको समय र गफ गर्दासमेत कच्चा पदार्थ घरमै पाइने भएकाले खाली समयमा टोपी र झोला बुन्न सकिने कमला श्रेष्ठ अधिकारीले बताइन्। मकैको खोस्टाबाट टोपी र झोला बुनेको देखेपछि घर वरपरका महिला आकर्षित भएको उनको भनाइ थियो ।
व्यास नगरपालिका–५ वडा कार्यालयको आयोजना र ओम राजश्री मल्टी एग्रो प्रालि काठमाडौँले मकैको खोस्टाबाट टोपी र झोला बुन्न तालिम दिएपछि महिला प्रेरित भएका छन् । गण्डकी प्रदेशमा नै पहिलोपटक मकैको खोस्टाबाट टोपी र झोला बनाउने तालिम ल्याइएको वडाध्यक्ष विष्णुकुमार श्रेष्ठ (हिमाल)ले बताए।
विदेशी मुद्रा सञ्चितिमा सहयोग पुयाउने गरी तालिम दिनुपर्छ भन्ने उद्देश्यले विदेशमा नै निर्यात गर्ने गरी उत्पादनमा जोड्न लागिपरेको उनले बताए। “पूर्णरूपमा स्वदेशको लागि मात्र नभई विदेश निर्यात गर्नकै लागि उत्पादनसँग जोड्नुपर्छ, डलर सञ्चितिकै लागि यो कदम चालेका हौँ”, वडाध्यक्ष श्रेष्ठले भने, “जापान, ट्युनिसिया र दुबईमा माग आइरहेको छ, माग वृद्धि हुँदै गएपछि अझ थप देशमा पनि पठाउने व्यवस्थापन गर्नेछौँ ।”
अहिलेका लागि देशमा डलर सञ्चितिमा टेवा पुर्याउने उद्देश्यले नै विदेशबाट आयात गर्नुभन्दा निर्यातमा जोड दिइएको उनको भनाइ थियो । “घरमा खेर फालिने मकैको खोस्टा कि त जलाइन्छ कि गाईवस्तुलाई खुवाएर खेर जान्छ, गाउँघरमा उत्पादित कच्चा पदार्थ उपयोग पनि हुन्छ, तालिमकै अवधिमा प्रशिक्षार्थीले गाउँघरबाट खोजेर ल्याउने गरेका छन्, उहाँहरूलाई जोखेर भुक्तानी दिने गरिएको छ”, उनले भने।
सिक्दै गरेको अवस्थामा समेत प्रशिक्षार्थीलाई टोपीको रु एक हजार दुई सय, झोलाको रु नौ सय निर्धारण गरिएको उनले बताए। प्रशिक्षणकै अवधिमा पनि बनेका सामग्री विदेश निर्यात गर्न ओम राजश्री मल्टी एग्रोले समन्वय गरिरहेको उनले जानकारी दिए। वडाबाट उत्पादन वृद्धि गर्ने उद्देश्यले प्रशिक्षार्थी र उत्पादन गर्न मात्रै नभएर प्रशिक्षक उत्पादन गरी वडाका २० टोलका महिलालाई प्रशिक्षित गरी आयआर्जन गर्ने वातावरण बनाउने उनले बताए।
प्रशिक्षार्थीले जाँगर लगाएर सिक्दा आफूलाई सिकाउन सहज भएको प्रशिक्षक सुशिला बराई मगरले बताइन्। “प्रशिक्षार्थीको जोश र प्रेरणाले सिकाउन सहज भएको छ”, उनले भनिन्। बीस दिनको सिकाइ प्रशिक्षक बन्नुभएकी प्रशिक्षक मगरले प्युठान, गुल्मी, पाल्पा र कञ्चनपुरसम्म पुगेर प्रशिक्षण दिँदै आएकी छन्।
स्वदेशमा घरेलु कच्चा पदार्थबाट बनेका टोपी, झोलाको माग भए पनि देशमा डलर सञ्चितिका लागि टेवा पु¥याउने उद्देश्यले अन्तर्राष्ट्रिय बजारमा निर्यातलाई प्राथमिकता दिएको वडाध्यक्ष श्रेष्ठले बताए। पोखरा, काठमाडौँलगायतका पर्यटकीय क्षेत्रबाट स्थानीय कच्चा पदार्थबाट बनेका वस्तुको माग भए पनि पूर्णरूपमा उत्पादित वस्तु विदेश पठाउने गरिएको छ ।
खेर जाने वस्तुको मूल्य र व्यवसाय नै हुने भएको छ । प्रशिक्षार्थीले ल्याएका मकैको खोस्टा प्रति केजी रु एक सय ४५ मा खरिद गर्ने गरिएको छ । मकैको खोस्टाबाट पेपल, गमला, फूलदानी, ढकिया, टे«लगायतका सजावटका सामग्री बनाउन सकिने र यसको अहिले स्थानीय बजारभन्दा पनि बढी अन्तर्राष्ट्रिय बजारमा माग बढी छ । |
निजी विद्यालयमा विद्यार्थी आकर्षित भएपछि… स्वर्गद्वारी। प्युठानमा नयाँ शैक्षिकसत्र २०८० का लागि भर्ना अभियान सम्पन्न भइसक्यो। जिल्लाका सबै विद्यालयमा पठनपाठनसमेत धमाधम चलिरहँदा प्युठान नगरपालिका कार्यालयकै छेउमा रहेको विद्यालयका कक्षाकोठा रित्ता छन्।
प्युठान–४ थापडाँडास्थित सरस्वती प्राथमिक विद्यालय विद्यार्थी नभएका कारण बन्द हुने अवस्थामा पुगेको छ। नगरकार्यपालिकाको कार्यालयबाट करिब पाँच सय मिटरको दूरीमा अवस्थित सो विद्यालयमा विद्यार्थी भर्ना संख्या शून्य भएको छ। विसं २०१२ मा स्थापना भएको पुरानो विद्यालय यो शैक्षिकसत्रमा विद्यार्थीविहीन भएको प्रधानाध्यापक हरिप्रसाद थपलियाले जानकारी दिए।
विद्यालयमा शिक्षक/अभिभावकले विद्यार्थी भर्नाका लागि लिएर आउँछन् कि भन्ने आशमा अझै छन्। तर अहिलेसम्म कुनै पनि विद्यार्थी त्यहाँ भर्ना हुनका लागि नआएको उनले बताए। उनका अनुसार विद्यालयले शैक्षिकसत्र सुरु गर्न विद्यार्थी भर्ना अभियान सञ्चालन गरेको थियो।
विद्यार्थी भर्नाका लागि अभिभावकसम्म पुगेर बालबालिकालाई भर्ना गर्न अनुरोधसमेत गरिएको थियो। “विद्यार्थी प्रोत्साहनका लागि कापी, कलम, पोशाकको समेत व्यवस्था गर्ने सोचमा थियौँ। स्थानीय बालबालिका निजी विद्यालयमा भर्ना हुन गएका कारण यहाँ भर्ना हुन आएनन्”, प्रधानाध्यापक थपलियाले भने।
विद्यालयमा विद्यार्थी सङ्ख्या कम भएपछि प्युठान नगरपालिकाले कक्षा ५ सम्म पढाइ भइरहेको विद्यालयलाई कक्षा १ देखि ३ कक्षासम्म हुने निर्णय गरेको थियो। कक्षा १ देखि ५ सञ्चालन हुँदै आएका छ प्राथमिक विद्यालयको कक्षा ग्रेड घटाइएको प्युठान नगरपालिकाका प्रमुख विष्णुबहादुर योगीले बताए। शून्य विद्यार्थीको विद्यालय के गर्ने ? भन्ने निर्णयमा प्युठान नगरपालिका छलफलमा रहेको उनको भनाइ छ। |
गुप्तेश्वर महादेवको संरक्षण गरिँदै भोजपुर। यहाँको रामप्रसादराई गाउँपालिका–३ भुल्केस्थित गुप्तेश्वर महादेवको संरक्षण थालिएको छ। धार्मिक क्षेत्रका रूपमा विकास गर्न यसको संरक्षण थालिएको हो। सडक खन्ने क्रममा अनोठौ प्रकृतिका ढुंगा फेला परेपछि यहाँ गुप्तेश्वर नामकरण गरेर संरक्षण थालिएको हो।
सडकको भित्तामा देवी–देवताको आकृति फेला परेपछि सडकलाई छेउबाट विस्तार गरेर यहाँ संरक्षणको काम थालिएको गाउँपालिकाले जनाएको छ। भुल्केकट्टीमा रहेको पाँचधारे मुहान नजिकै उत्पत्ति भएको यो स्थानको संघीय सरकारको रु ३० लाख र गाउँपालिकाको रु ४० लाख गरी रु ७० लाख लागत साझेदारीमा काम भइरहेको छ।
यसको बृहत्तर विकास लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण गरेर निर्माणको काम अघि बढाइएको रामप्रसादराई गाउँपालिका उपाध्यक्ष वीरेन्द्र राईले जानकारी दिए। यहाँ गुप्तेश्वर मन्दिर निर्माण तथा घेराबारा र आवश्यक संरचना निर्माण गरिने छ। यहाँ निर्माण हुने सबै संरचनाको रु चार करोडको बराबरको डिपिआर तयार भएको उनले बताए।
“धार्मिक क्षेत्रका रूपमा विकास गर्न गुप्तेश्वर महादेवको संरक्षण थालेका हौँँ”, उनले भने, “अहिले विस्तृत परियोजना प्रतिवेदन नै तयार गरेर काम थालेका छौँ। यो क्षेत्रलाई एक धार्मिक क्षेत्रका रूपमा विकास गर्ने हाम्रो लक्ष्य छ।” मन्दिर उत्पत्ति भएपछि यहाँ देशका विभिन्न ठाउँबाट मानिस दर्शनका लागि आउने गरेका कारण यसको विकास गर्दै प्रचार–प्रसारमा जोड दिने उनको भनाइ छ।
यो ठाउँलाई धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सके यहाँका स्थानीयको आर्थिकस्तरमा सुधार ल्याउन टेवा पुग्ने वडाध्यक्ष रामु थापामगरले बताए। प्राकृतिक स्वरुपलाई यथावत राख्दै आवश्यक विकासको काम गरिने उनको भनाइ छ।
“यो एउटा विशेष धार्मिक महत्व बोकेको स्थल हो”, उनले भने, “यो ठाउँलाई संरक्षण गरेर विकास गर्न आवश्यक छ, धार्मिक क्षेत्रका रूपमा विकास गर्दै पर्यटनसँग जोडेर यहाँका स्थानीयको आर्थिक उपार्जनमा टेवा दिने उद्देश्य छ।”
यो मन्दिरमुनि रहेको पाँचेधारे मुहानबाट मिनिरल वाटरको उद्योग सञ्चालनका लागि समेत आवश्यक प्रक्रियाको काम भइरहेको छ। यो भेगको आसपासमा रहेका पाँचवटा मुहानमध्ये यहाँको पानी उत्कृष्ट रहेकाले यो अवधारणा अघि बढाइएको गाउँपालिकाका योजना शाखाका प्राविधिक ज्ञानराज भट्टराईले जानकारी दिए।
“यो ठाउँबाट मिनिरल वाटर उद्योग सञ्चालनको प्रक्रिया अघि बढेको छ”, उनले भने, “यहाँ भएका पाँचवटा मुहानमध्ये यो मुहान पानी उद्योगका लागि उत्कृष्ट देखिएको छ। अब यहाँ उद्योग पनि सञ्चालनमा आउँछ।”
यो क्षेत्रमा जलधारको राम्रो सम्भवना रहेकाले पानी मुहानसँगै यहाँको पञ्चकञ्या देवीथानको पनि संरक्षण भइरहेको स्थानीयवासी तथा वडासदस्य टेकराज भट्टराईले जानकारी दिए। यहाँका पानीका मुहान रहेको ठाउँलाई सिमसार क्षेत्रका रूपमा विकास गर्ने काम भइरहेको उनको भनाइ छ।
वन तथा वातावरण मन्त्रालयको नेपाल जलावायु नमूना कार्यक्रमअन्तर्गत रु २५ लाख लागतमा तीनधारे र पात्लेखेत भुल्भुले मुहानको संरक्षण थालिएको हो। यही भुलभुले मुहानको नामबाट गाउँको नामसमेत भुल्के रहेको स्थानीयको भनाइ छ।
यो ठाउँको भुलभुलेबाट गुप्तेश्वरसम्म पाँचवटा मुहान छन्। यी मुहानमा बाह्रै महिना एकनासले पानी आइरहने स्थानीयवासीले जानकारी दिए। मुहान संरक्षणको काम थालिएकाले यहाँको विकासमा टेवा पुग्ने स्थानीयको भनाइ छ। – रासस |
दुर्गमको व्यथा: विद्यालय पुग्न चार घन्टा पैदल गलकोट। बागलुङ जिल्लाको तमानखोला गाउँपालिका–६ भित्रीवनका ललिता छन्त्याल बिहानै ७ बजे विद्यालय अध्ययनका लागि हिँड्छिन्। तमानखोला गाउँपालिका–५ खुङ्खानीस्थित शान्ति माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत छन्त्याल बिहानै उठेर विद्यालय हिँड्न थालेको एक वर्ष बित्यो।
गाउँकै डिल्ली प्राथमिक विद्यालयमा कक्षा ५ सम्म अध्ययन गरेकी छन्त्याल एक घन्टाको पैदलयात्रामा पुगिने विष्णु आधारभूत विद्यालयमा कक्षा ८ सम्म अध्ययनपश्चात अर्को वडामा पुगेर कक्षा ९ देखि शान्ति माध्यमिक विद्यालय खुंखानीमा अध्ययन गर्दै आएकी छन्।
भित्रिवनमा कक्षा ५ सम्मको मात्रै विद्यालय भएकाले दैनिक चार घन्टा आउजाउको पैदलयात्रापछि मात्रै शान्ति माध्यमिक विद्यालयमा आएर अध्ययन गरिरहेको ललिता छन्त्यालको भनाइ छ। छन्त्यालका अनुसार गाउँमै माध्यमिक शिक्षासम्मको अध्यापन नहुँदा बिहान दुई घन्टा र बेलुका दुई घन्टा हिँडेर विद्यालयमा आएर अध्ययन गर्ने गरेको बताइन्।
“बिहानै उठेर विद्यालय हिँड्नुपर्छ, बेलुका घर पुग्दा साँझ परेको हुन्छ, हिँड्दाहिँड्दै थाकिन्छ, गृहकार्य गर्ने समय नै हुँदैन, दिउँसो खाजा खाने समयमा गृहकार्य गर्ने गरेकी छु, विद्यालय टाढा हुँदा अतिरिक्त क्रियाकलाप गर्न सकिँदैन, १० कक्षामा अतिरिक्त कक्षा सुरु भएपछि घरबाट विद्यालय आउन भ्याइँदैन यही कोठा खोजेर अध्ययन गर्न बस्ने हो”, छन्त्यालले भनिन्, “परीक्षाको समयमा विद्यालयले नै यही राख्ने व्यवस्था मिलाउने छ, अघिपछि बस्नु परे कोठा भाडामा लिएर बस्नुपर्दछ।”
छन्त्यालमात्रै होइन, तमानखोला गाउँपालिका–६ पात्लेखेतका रुप घर्ती घरबाट आउजाउ गरेर विद्यालय अध्ययन गर्न नसकेपछि आफन्तकै घरमा बसेर शान्ति माविमा अध्ययन गर्छिन्। कक्षा ५ सम्म आफ्नै गाउँको मालिका प्राथमिक विद्यालयमा अध्ययन गरेकी घर्ती ६ देखि ८ सम्म विष्णु आधारभूतमा अध्ययनपश्चात अहिले खुंखानी आएर कक्षा १० मा अध्ययन गर्दै आएकी छन्।
“आफ्नो वडामा ८ कक्षामाथि पढाइ हुँदैन, अध्ययन गर्नका लागि ६ नं वडा बाट ५ मा पुग्नुपर्ने हुन्छ, विद्यालय आउजाउमै समय खर्च भएपछि खुंखानीमा रहेका आफन्तको घरमा बसेर अध्ययन गर्दै आएको छु”, घर्तीले भनिन्, “विद्यालय टाढा भएपछि शुक्रबार र शनिबारमात्रै घरमा पुग्ने गर्दछु, बर्खाको समयमा पहिराले बाटो नहुँदा बाटोबाटै घर फर्कनुपर्ने अवस्था हुन्छ।”
अत्यधिक वर्षा र हिमपातजस्ता प्राकृतिक प्रकोपको समयमा विद्यालय पुग्न नसक्ने विद्यार्थीको भनाइ छ। वडा नं ६ को पात्लेखेत र भित्रिवनबाट खुंखानीको विद्यालयमा आउन र जान दैनिक चार घन्टा पैदल हिँड्नुपर्दछ भने नर्जाखानीबाट आउन जान दुई घन्टाको पैदलयात्रापछि विद्यालय पुग्न सकिन्छ। नर्जाखानीमा ८ देखि १० सम्म अध्ययन हुने विद्यालय नुहँदा खुङ्खानी पुग्नुपर्ने बाध्यता छ।
खुङ्खानीको सोही वडाकै गाउँ थास्पुरीबाट विद्यालय आउन जान दैनिक दुई घन्टा लाग्ने गरेको कक्षा १० मा अध्ययन गर्ने विपना सुन्चौरीले बताइन्। विद्यालय आउनजानै धेरै समय खर्च हुने भएकाले राम्रोसँग गृहकार्य गर्न नपाउने सुन्चौरीको भनाइ छ। वर्षा र बाढीपहिराको समयमा विद्यालय आउन जानै समस्या हुने गरेको सुन्चौरीको भनाइ छ।
पछिल्लो समय विद्यालयको शैक्षिक अवस्था सुधार हुँदै गए पनि दुर्गमका कारण अझै टाढाबाट विद्यालय आउनुपर्ने बाध्यता रहिआएको शान्ति माविका प्रधानध्यापक सत्यनारायण सिंहले जानकारी दिए।
“अहिले विद्यालयमा प्रविधिमैत्री तरिकाले अध्ययन अध्यापन हुँदै आएको भए पनि नर्जाबाट २५, भित्रिवनबाट १२ र पात्लेबाट छ जना घन्टौँ पैदलयात्रापछि यहाँ अध्ययन गर्न आउने गरेका छन्”, उनले भने, “नर्जाबाट आउन जान दुई घन्टा लाग्छ तर भित्रिवन र पात्लेबाट आउन जान झन्डै चार घन्टा लाग्ने गरेको छ, परीक्षाको समयमा विद्यालयमै बस्नेखाने व्यवस्था मिलाउने तयारी विद्यालयको छ।”
भौगोलिकरूपमा निकै विकट तथा थोरै जनसंख्या भएकाले तमानखोला गाउँपालिकामा माध्यामिक तहका जम्मा तीनवटा मात्रै विद्यालय भएकाले कक्षा ९ र १० अध्ययन गर्नका लागि छ वडामध्ये तीनवटा वडाका विद्यार्थी छिमेकी वडामा पुग्नुपर्ने बाध्यता रहेको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले जानकारी दिए।
आधा दशक अगाडिसम्म जीर्ण भवन, खानेपानी र शौचालयको अभावमा गुज्रिएको यस विद्यालयले अहिले भौतिकरूपमा मात्रै होइन, शैक्षिक गुणस्तरमा मुहार फेरेको गाउँपालिकाको भनाइ छ। गाउँपालिकाले शिक्षा क्षेत्रमा ठूलो लगानी गरेको भन्दै लगानीअनुसार शान्ति माविले प्रतिफल दिन थालेको उनको भनाइ छ।
कक्षा १० सम्म पढाइ हुने यस विद्यालय विसं २०२१ मा स्थापना भएको थियो। विसं २०४२ देखि निम्नमाध्यमिक र २०६४ बाट माध्यमिक तह पढाइ हुँदै आएको छ। यहाँ १० कक्षासम्म पढाइ सकेर उच्च शिक्षाका लागि यहाँका विद्यार्थी पालिकाको केन्द्र रहेको बोंगा दोभानस्थित जनजागृति मावि पुग्नुपर्छ। विद्यालयमा हाल दुई सय ८८ विद्यार्थी अध्ययनरत छन्। विद्यालयमा प्रोजेक्टरबाटै अध्यापन गराउन थालिएको छ भने कम्प्युटर शिक्षा, विज्ञान प्रयोगशाला र गाउँपालिका अध्यक्ष पुस्तकालय कार्यक्रम सञ्चालित छ। – रासस |
भरतपुर महानगरले केही दिनमा मापदण्ड विपरितका संरचना भत्काउने चितवन। भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले मापदण्ड विपरितका संरचना भत्काइने काम छिटोभन्दा छिटो अघि बढाइने बताएकी छन्।
भरतपुर भवन निर्माण व्यवसायी समितिको १०औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मेयर दाहालले भरतपुरलाई व्यवस्थित सहर निर्माण गर्ने उद्देश्यसहित मापदण्ड विपरितका अवैध संरचना हटाउने काम केही दिनमा सुरु गरिने बताइन् ।
प्रमुख दाहालले महानगरपालिकाले तीन महिना अगाडि सूचना प्रकाशित गरी मापदण्ड विपरितका घर, टहरा, कम्पाउण्ड लगायतका संरचना हटाउन आह्वान गरेकाले अब भने एक्सनमा जाने बताइन्। महानगरपालिकाले बनाएको मापदण्डअनुसार अगाडि बढ्नु जनप्रतिनिधिको दायित्व भएको स्पष्ट पारिन्। यसका लागि बैठक बसेर, निर्णय गरी कसैलाई पनि मार्का नपार्ने गरी काम अगाडि बढाइने जानकारी दिइन्।
भरतपुर महानगरपालिकाले यसअघि पुलचोक गोन्द्राङ ६ लेन सडकमा पर्ने संरचना हटाउने कार्य सम्पन्न गरिसकेको छ। महानगरपालिकाले भरतपुरका अन्य मुख्य सडक क्षेत्रमा पर्ने संरचना हटाउन पत्रचार पनि गरेको छ। |
कोशी प्रदेश नामाकरणविरुद्ध आजबाट पुन: आन्दोलन बिराटनगर। आजदेखि कोशी प्रदेश नामाकरण बिरुद्ध पुन: आन्दोलन सुरु हुने भएको छ। आज वैशाख २६ गते झापाको दमकमा राँके जुलुस प्रदर्शन गर्दै सो आन्दोलनको सुरुवात गर्न लागिएको हो।
संयुक्त संघर्ष समितिका किराँत राई यायोक्खाका अध्यक्ष जीवन हाताचोका अनुसार सो आजवाट सुरु हुने आन्दोलन जेठको दोस्रो सातासम्म जारी रहनेछ। प्रदेश-१ को नाम कोशी राखे पछि मुख्यत: किराँत र लिम्बुवान समुदायका मानिसहरु आक्रोशितत हुँदै आएका छन्।
यसैगरी वैशाख २८ गतेदेखि प्रदेश सभाका ८२ जना सांसद उपस्थित हुने कार्यक्रममा निरन्तर बहिस्कार तथा उपस्थित भएर बिरोध गर्ने जनाइएको छ भने कोशी प्रदेशका जिल्लाहरुमा निरन्तर रुपमा कोणसभा, संघर्ष समिति गठन तालाबन्दी, कोशी नाम हटाउने, जलाउने, मेट्ने, कालो झण्डा रोप्ने लगायतका कार्य प्रदेशभरी गरिने कार्यक्रम सार्बजनिक गरिएकाे छ।
जेठ २ गतेदेखि ५ गतेसम्म कोशी प्रदेशका १४ वटै जिल्लाका मुख्य स्थानमा जनजागरण अभियान चलाउने र जेठ दोस्रो हप्ता वृहत भेला आयोजना गर्ने जनाइएको छ।
यसैगरी ‘पहिचानका लागि युवा’ भन्ने अलग्गै संगठन बनाउने देखी कोशी प्रदेश स्तरिय आमसभा गरेर पहिलो चरणको आन्दोलन टुंग्याइने जनाइएको छ। |
विद्यालयको जग्गामा पार्किङस्थल निर्माण नगर्न जनकपुरधाम उपमहानगरपालिकालाई अदालतको आदेश धनुषा । उच्च अदालत जनकपुरले राष्ट्रिय प्राथमिक विद्यालय दशरथनगरको जग्गामा पार्किङस्थल निर्माण नगर्न जनकपुरधाम उपमहानगरपालिकाको नाममा अन्तरिम आदेश जारी गरेको छ ।
आज उच्च अदालत जनकपुरका न्यायाधीशद्वय भोजराज अधिकारी र सागर विष्टको संयुक्त इजलासले यस्तो आदेश जारी गरेको हो । स्थानीय बलदेव साह तेलीले जनकपुरधाम उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालयलाई विपक्षी बनाई दिएको रिट निवेदनमा अदालतले यस्तो फैसला गरेको हो ।
राष्ट्रिय प्राथमिक विद्यालय दशरथनगरको जग्गा अतिक्रमण गरी नगर सवारीसाधन पार्किङस्थल बनाउँदा विद्यालयमा ध्वनि प्रदूषण बढाउने र विद्यार्थीको पठनपाठनमा पनि ठूलो असर पर्ने भन्दै अदालतले निर्माण कार्यमा रोक लगाएको हो ।
उच्च अदालतले मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५८ र उच्च अदालत नियमावली, २०७३ को नियम ४२ (१) बमोजिम अन्तरिम आदेश जारी गरेको हो ।
निवेदकको तर्फबाट अधिवक्ता किशोरी साह र कौशलेन्द्र लाल कर्ण तथा विपक्षीको तर्फबाट मन्सुर राईनले बहस गरेका थिए । यसअघि जनकपुरधाम उपमहानगरपालिकाले आधुनिक पार्किङस्थल निर्माणका लागि सो जग्गामा गत माघ २७ गते शिलान्यास गरेको थियो । नगरप्रमुख मनोजकुमार साह र उपप्रमुख किशोरी साहले उपमहानगरको वडा नम्बर–८ दशरथ मन्दिरको छेउमा रहेको करिब १२ कठ्ठा जग्गामा निर्माण हुने पार्किङस्थलको शिलान्यास गरेका थिए । |
null |
भरतपुर महानगरले केही दिनमा मापदण्ड विपरितका संरचना भत्काउने चितवन । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले मापदण्ड विपरितका संरचना भत्काइने काम छिटोभन्दा छिटो अघि बढाइने बताएकी छन् ।
भरतपुर भवन निर्माण व्यवसायी समितिको १०औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मेयर दाहालले भरतपुरलाई व्यवस्थित सहर निर्माण गर्ने उद्देश्यसहित मापदण्ड विपरितका अवैध संरचना हटाउने काम केही दिनमा सुरु गरिने बताइन् ।
प्रमुख दाहालले महानगरपालिकाले तीन महिना अगाडि सूचना प्रकाशित गरी मापदण्ड विपरितका घर, टहरा, कम्पाउण्ड लगायतका संरचना हटाउन आह्वान गरेकाले अब भने एक्सनमा जाने बताइन् ।
महानगरपालिकाले बनाएको मापदण्डअनुसार अगाडि बढ्नु जनप्रतिनिधिको दायित्व भएको स्पष्ट पारिन् । यसका लागि बैठक बसेर, निर्णय गरी कसैलाई पनि मार्का नपार्ने गरी काम अगाडि बढाइने जानकारी दिइन् ।
भरतपुर महानगरपालिकाले यसअघि पुलचोक गोन्द्राङ ६ लेन सडकमा पर्ने संरचना हटाउने कार्य सम्पन्न गरिसकेको छ । महानगरपालिकाले भरतपुरका अन्य मुख्य सडक क्षेत्रमा पर्ने संरचना हटाउन पत्रचार पनि गरेको छ । |
नीति तथा कार्यक्रम तयार पार्न छलफल हेटौँडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि नीति तथा कार्यक्रम तयार पार्नका लागि प्रदेशको संसद्मा सहभागी सातवटै दलहरुसँग छलफल गरेको छ । बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज मुख्यमन्त्री शालिकराम जमकट्टेलले अध्यक्षतामा छलफल भएको हो ।
छलफलमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र),नेकपा (एकीकृत समाजवादी), हाम्रो नेपाली पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दल नेता, सचेतकलगायत प्रतिनिधिहरुको सहभागितामा छलफल भएको मुख्यमन्त्री जमकट्टेलका प्रमुख राजनीतिक सल्लाहकार डिपी ढकालले जानकारी दिए । उनका अनुसार जनभावनाअनुरुप काम गर्नेगरी बजेट तयार पार्नका लागि दलहरुको राय सुझाव लिइएको हो ।
आकारभन्दा पनि व्यावहारिक हुनुपर्नेतर्क दलका नेताहरुका सुझाव रहेको ढकालले जानकारी दिए । ढकालका अनुसार प्रत्येक दल र जनभावना समेटेर प्रभावकारी नीति तथा कार्यक्रम ल्याउनका लागि मुख्यमन्त्री जमकट्टेलले छलफल चलाएका हुन् । |
चार लाख ६७ हजारले कक्षा १२ को परीक्षा दिँदै काठमाडौं । मङ्गलबारदेखि सुरु हुुने कक्षा १२ को परीक्षाको तयारी पूरा भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले तयारी पूरा भएकाले परीक्षामा सहभागी हुन सबै परीक्षार्थीलाई आह्वान गरे । उनले देशभर शान्तिपूर्ण रुपमा परीक्षा सम्पन्न गर्न सबैमा आग्रह गरे ।
कक्षा १२ को यस वर्षको वार्षिक परीक्षामा देशभरबाट कूल चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थीले परीक्षा दिन लागेका बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिए । परीक्षाका लागि देशभर एक हजार चार सय ५७ परीक्षा केन्द्र निर्धारण गरिएको छ । उनले परीक्षाका लागि केन्द्राध्यक्ष, सह–केन्द्राध्यक्ष, निरीक्षक र सहायक नियुक्त गरी परीक्षाका लागि परिचालन गरिएको जानकारी दिए ।
“परीक्षाका लागि आवश्यक सामग्री जिल्ला जिल्लामा पु¥याइएको छ”, शर्माले भने। यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी हुने भएका छन् । उनीहरूले जति विषयमा कम नम्बर आएको थियो सोही विषयको मात्र ग्रेड वृद्धि परीक्षा दिनुपर्नेछ ।
तीन वा सोभन्दा बढी विषयमा ‘नन ग्रेडेड’ ल्याएका विद्यार्थीले यो वर्ष पूरै विषयको परीक्षा दिनुपर्ने भन्दै छ विषयकै परीक्षा फारम भरिए पनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले लेटर ग्रेडिङ निर्देशिका, २०७८ संशोधन गरेसँगै अब नन ग्रेडेड ल्याएका विषयको मात्रै परीक्षा दिए पुग्ने भएको छ ।
बोर्डले लागू गरेको लेटर ग्रेडिङ प्रणालीअनुसार दुईभन्दा बढी विषयमा नन ग्रेडेड ल्याएका विद्यार्थीले पूरै विषयको परीक्षा दिनुपर्ने भन्ने थियो । यसो गर्दा गत वर्ष भएको ग्रेड वृद्धि परीक्षामा विद्यार्थीको सहभागिता घटेर ड्रप आउट हुने सम्भावना भएपछि मन्त्रालयले निर्देशिका संशोधन गरेको थियो । |
टोपबहादुर रायमाझीलाई पक्राउ गर्न सबै जिल्लामा सर्कुलर काठमाडौं । पूर्वउप्रधानमन्त्री समेत रहेका एमाले सचिव टोपबहादुर रायमाझीलाई पक्राउ गर्न सबै जिल्ला प्रहरी कार्यालयमा सर्कुलर गरिएको छ । भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाइदिने भन्दै ठगी गरेको आरोप लागेका रायमाझीलाई पक्राउ गर्न पक्राउ पुर्जी जारी भएको छ ।
गत बुधबारदेखि फरार रहेका रायमाझी प्रहरीलाई आफैं आउँछु भन्दै फरार भएका छन् । प्रहरी प्रवक्ता कुवेर कडायतले फरार व्यक्ति पक्राउ गर्न यसरी सर्कुलर गर्नु नियमित प्रक्रिया भएको बताए । |
समृद्धिको यात्रामा चेपाङ युवा बागमती। परम्परागत ज्ञानलाई आधुनिकीकरण गरी मकवानपुरका चेपाङ युवाले आफ्नो सीपलाई बजारीकरण गर्न सुरु गरेका छन्। गिठ्ठाको चिप्स, सिस्नोको धुलो तथा भाङको पाटबाट बनेका झोला तथा महको उत्पादन र बजारीकरणमा चेपाङ युवाले अग्रसरता देखाएका छन्।
जिल्लाको विकट क्षेत्र मानिने राक्सिराङको सिलिंगेका ३९ वर्षीय युवा दिनेश चेपाङले मौरीपालन र मह बिक्री गरेर राम्रो आम्दानी गर्न सफल भएका छन्। महेन्द्र राजमार्ग नजिक मनहरिको लोथरमा मौरीपालन केन्द्र सञ्चालन गरेका उनले वार्षिक एक हजार केजीसम्म मह उत्पादन गर्ने मात्रै नभएर वार्षिक ४५ हजार केजीभन्दा बढी मह संकलन गरेर काठमाडौँ, हेटौँडा, नारायणघाट, पोखरा तथा देशैभरका साना किसान सहकारीलाई वितरण गर्ने गर्दछन्।
उनले गाउँका गरिब किसानलाई मौरीपालन गर्न प्रोत्साहन गरेका छन्। गाउँलेले उत्पादन गरेका मह किनिदिएर बजारीकरण गरिदिने दिनेशका कारण अन्य चेपाङ परिवारको आयस्तरसमेत बढेको छ। “सुरुआतमा मेरो आर्थिक अवस्था पनि कमजोर थियो, मौरीपालन गरेर मह उत्पादन र बिक्रीवितरण गरेर आम्दानी गर्न थालेपछि विस्तारै स्वावलम्बी बन्न सकेँ। मौरीपालन नै मेरो जीविका परिवर्तनको कारण हो”, उनले भने।
अहिले उनीसँग आफ्नै गाडी छ। राक्सिराङका विकट गाउँबाट मह संकलन गर्छन्। संकलन गरेको कच्चा मह लोथरमा रहेको मह प्रशोधन केन्द्रमा प्रशोधन गरिन्छ। उनले आफ्नै ब्राण्डमा बेच्ने गरेका छन्। वर्षमा झण्डै ५० हजार किलो मह संकलन गरेर बिक्रीवितरण गर्ने गरेको उनको भनाइ छ।
राक्सिराङ–७ का वडाध्यक्षसमेत रहेका रामबहादुर प्रजा पनि चिउरीको मह उत्पादक हुन्। उनले एक सय २० घारसम्म मौरीपालन गरेर १६ सय किलोसम्म मह उत्पादन गर्ने गरेकामा अहिले भने जनप्रतिनिधि भएपछि उत्पादन घटाउन बाध्य भएको बताउँछन्।
उनी भन्छन्, “पहिला त मह उत्पादन गरेर प्रसस्त आम्दानी गरेको थिएँ, जनप्रतिनिधि भएपछि समय दिन नपाएर अहिले उत्पादन घटेको छ। तै पनि यो पेशा छोड्न सकेको छैन।” महबाहेक स्थानीयरुपमा उत्पादन हुने कोदो फापर, मास, सिमीजस्ता कृषिउपज पनि उत्पादन र सङ्कलन गरेर बेच्ने गरेको प्रजाले बताए।
त्यस्तै, राक्सिराङ–८ का २६ वर्षीय युवा आर्यन प्रजा चिउरीको घिउ र पिना बेचेर चेपाङ सामुदायको स्तरवृद्धिमा लागेका छन्। अहिले आर्यन राक्सिराङका गाउँगाउँमा चिउरीका दाना संकलन गर्न पुगिरहेका छन्। चेपाङ चिउरी युथ क्लबका अध्यक्षसमेत रहेका आर्यनले आफूसँग भएको चिउरीको घ्यू र पिना चैनपुरमा लाग्ने हाटबजारमा लगेर बिक्री गर्छन्।
राक्सिराङको केन्द्र चैनपुरमा महिनाको दुई दिन १ र १५ गते स्थानीय उत्पादनको बिक्री वितरण गर्न हाटबजार लाग्ने गर्दछ। हाटबजारमा आफूहरुले चिउरीको दाना प्रतिपाथी रु एक सय, घ्यू प्रतिकिलो रु तीन सयमा र पिना प्रतिकिलो रु ५० मा बिक्री गर्ने गरेको उनी बताउँछन्। चिउरीको मह, चिउरीको फल मात्रै होइन, खेर जाने दानाकोसमेत मूल्य आउने भएपछि स्थानीय चेपाङ समुदाय चिउरी संरक्षणमासमेत जुटेको उनको भनाइ छ।
चिउरी फूलको रसबाट माहुरीले बनाएकोे मह चिउरीको फल जतिकै स्वादिलो हुने र स्वास्थ्यका लागि अति राम्रो हुने विश्वास गरिन्छ। चिउरीको फलको बियाँबाट घिउ निकाल्ने र त्यसलाई भुटुनका रुपमा प्रयोग गरिने प्रचलन अहिले पनि रहेको छ। माछा मार्न तथा अन्य काममा पनि चिउरीको पिना प्रयोग हुने गर्दछ।
चिउरी, चमेरो र चेपाङ समुदायबीच विशिष्ठ सम्बन्ध रहेको छ। चेपाङ समुदायमा चिउरीको रुख दाइजोका रुपमा चेलीबेटीलाई दिने चलन यद्यपि रहेको पाइन्छ। फूलको रस चुस्न आउने चमेरोलाई चेपाङ समुदायमा मिठो परिकारका रुपमा लिइन्छ। सिलिंगे सामुदायिक वनका अध्यक्ष प्रजाका अनुसार पुस, माघमा चिउरीको फूलको रस चुस्न र असार साउनमा पाकेको फल खान आउने चमेरोलाई सिकार गर्ने चलन अहिले पनि छ।
चेपाङ, चिउरी र चमेरो मात्रै हैन अहिले मह पनि जोडिएर चेपाङ समुदायको जनजीविकासँग जोडिएको छ। जीविकोपार्जनका लागि प्रत्यक्षरुपमा वनमा नै निर्भर रहेको यो समुदायको परम्परागत सीपका माध्यमबाट आर्थिक र सामाजिकस्तरमा सुधार ल्याउन सरकारी तथा गैरसरकारी संस्थाबाट पनि विभिन्न कार्यक्रम सञ्चालन गरिएका छन्।
संविधानसभा सदस्य गोविन्दराम चेपाङ भन्छन्, “उहिले उहिले त कोलमा पेलिएको चिउरीको घ्यु टिनका टिन बजार जान्थ्यो अचेल त्यो बन्द छ। चेपाङका घरमा बजारिया तेलको प्रयोग बढ्न थालेको छ।”
चेपाङ समुदायको जनजीविका र संस्कृतिसँग परमपरागतरुपमा जोडिएको चिउरी संरक्षण र उपयोगिताको वैज्ञानिक तौरतरिका अपनाएर लागू गर्नसके चेपाङ जातिको उत्थान सँगसँगै देशकै आर्थिक स्थितिलाई टेवा पुर्याउन सकिने उनको भनाइ छ।
चेपाङ समुदायले कृषि तथा पशुपालन गर्नुका साथै मह उत्पादन गरेर राम्रो आम्दानी गर्न थालेको सिलिंगे सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष आइतसिंह प्रजा बताउँछन्। जनसंख्या वृद्धिसँगै चिउरीको फँडानी बढ्न थालेपछि चिउरीसँग जीवन जोडिएका चेपाङ समुदायको पहिचान संकटमा पर्न नदिन सामुदायिक वन उपभोक्ता समूहमार्फत वनजंगलसँगै चिउरी संरक्षण सुरु गरिएको उनको भनाइ छ। |
धाराबाट पानी आएपछि खोलेस्बाङवासी दंग ढोरपाटन। “गाउँमा खानेपानीको हाहाकार हुन्थ्यो, सबैभन्दा बढी समस्या त चैतदेखि असारसम्म हुथ्यो, अहिले घरकै आँगनको धारोमा पानी आउँछ, घरमै पानी आउन थालेपछि हाम्रो दैनिकी नै फेरिएको छ।” तमानखोला गाउँपालिका–२ खोलेस्बाङकी श्यामकुमारी रसाइलीलाई एक गाग्री पानी भर्न डेढ घण्टासम्म लाइनमा बस्नुपथ्र्यो।
पानी भर्ने पालो कुर्दाकुर्दै अन्य घर धन्दा गर्न भ्याउ थिइन्। गाउँको बीचमा रहेको एउटा धारोबाट सिंगो टोलका स्थानीयले पानी भर्नुपर्ने बाध्यता थियो तर अहिले कसैले पनि पानी भर्न घण्टौँ कुर्नु पर्दैन। अहिल प्रत्येकको घर–घरमा धारा जडान भएका छन्।
खोलेस्बाङ गाउँमा गोर्खा वेयलफेयर संस्थाले एक घर एक धारा निर्माण गरी दिएपछि स्थानीयको वर्षौंदेखिको समस्या समाधान भएको छ। वि.सं. २०७८ चैतदेखि सुरु भएको खोलेस्बाङ–श्रीबाङ खानेपानी आयोजना विसं २०७९ जेठमा सम्पन्न भएको थियो।
खानेपानी आयोजना निर्माणका लागि वेयदफेयर संस्थाले रु ७८ लाख सहयोग गरेको थियो भने स्थानीयले ९९ सय दिन जनश्रमदान गरेका थिए। घर–घरमा धारो बनेपछि पहिले सुक्खा रहेका स्थानीयका करेसा बारी अहिले तरकारीले हरियाली भएका छन्। पशुचौपायाले पेटभरी पानी पिउन पाएका छन् भने शौचालय पनि सफा भएका छन्।
अहिले गाउँमा एक सय ३५ घरमा ‘एक घर एक धारा’ निर्माण भएका छन् भने सार्वजनिक ठाउँमा चार वटा थप नयाँ भारा निर्माण भएका छन्। स्थानीयलाई पहिलेको जस्तो पानी सुक्छ भन्ने चिन्ता पनि छैन। आवश्यकताअनुसार पानीको प्रयोग गर्न सकिने श्यामकुमारी बताउँछिन्। पहिले खेतीयोग्य जमिन हुँदा पनि पानीका कारण तरकारी खेती गर्न नसकिएको भन्दै अहिले बाहिरबाट किनेर खानुपर्ने अवस्था नरहेको रसाइलीको भनाइ छ। अहिले पानी बोक्ने समय अन्य काम गर्ने गरेको उनले बताइन्।
गाउँमा सिद्धविर मुहानबाट गाउँमा पानी ल्याएको हो। बरिक तीन किलोमिटर टाढाबाट पाइप लाइनमार्फत पानी झरालिएको छ। एक सय ३९ धाराका लागि ११ वटा ट्यांकी निर्माण भएका छन्।
पानीलाई व्यवस्थित गर्नका लागि मिटर जडान गरिएको खोलेस्बाङ–श्रीबाङ खानेपानी आयोजनाका सचिव लिलबहादुर पुनले जानकारी दिए। उनले गाउँमा स्वच्छ खानेपानी आएपछि आफूहरुको वर्षौंदेखिको समस्या समाधान भएको बताए। एक घर एक धाराले गाउँलेको मुहारमा खुसी छाएको सचिव पुनको भनाइ छ।
“खोलेस्बाङमा खानेपानीको समस्या वर्षौंदेखिको हो, धेरै ठाउँमा खानेपानीको माग पनि भएको थियो, तर अघिल्लो वर्ष बल्ल समाधान भयो, दुर्गमको भएर होला सम्बन्धित निकायले पहिला कुनै ध्यान दिएनन्”, उनले भने, “अहिले गाउँपालिकाले पनि सहकार्य गर्यो, वेयलफेयर संस्थाले ठूलो लगानी गर्यो, गाउँलेले पनि धेरै श्रम गरे, सबै पक्षको साथ र सहयोगले गाउँमा पानी आयो, हामीहरु धेरै खुसी भएका छौँ, हाम्रा पुस्ताले जति खानेपानीका लागि दुःख पायौँ, नयाँ पुस्ताले त्यो समस्या भोग्नु पर्ने छैन्, अहिले हरेकको घरमा धारा बनेको छ, त्यसलाई संरक्षण गरेर प्रयोग गर्नुपर्छ।”
तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले सिंगो समुदायसहित विद्यार्थी र स्वास्थ्य संस्थामा आउने बिरामीले लामो समयदेखि खानेपानीको समस्या भोग्दै आएकोमा अब त्यो समस्या समाधान भएको बताए। पालिका भरका अधिकांश घरमा ‘एक घर एक धारा’ निर्माण भइसकेको भन्दै केही बस्तीमा अहिले आयोजना सञ्चालनमा रहेको अध्यक्ष बुढा मगरको भनाइ छ। अबको केही समयमा तमानखोला गाउँपालिकाका कुनै पनि बस्तीमा खानेपानीको समस्या नहुने उनी बताउँछन्।
“हामीहरु निर्वाचित भएर आएको पहिलो कार्यकालदेखि नै खानेपानीको समस्या समाधान गर्न थालेका हौँ, अहिलेसम्म आउँदा ९० प्रतिशत नागरिकले सहजरुपमा खानेपानी पाएका छन्, अहिले पनि धेरै ठाउँमा योजना सञ्चालन भइरहेका छन्”, अध्यक्ष बुढा मगरले भने, “धेरै ठाउँमा पालिकाकै लगानीमा खानेपानी आयोजना सम्पन्न भएका छन्, केही गाउँमा सञ्चालन भएका आयोजनामा विभिन्न संघ संस्थासँग सहकार्य गरेका छौँ।” – रासस |
सबैलाई रुवाउँदै अस्ताए व्यवसायी कँडेल चितवन। “दुःखी र कमजोर मन लिएर मसँग डाक्टरको रुपमा पीडा पोख्न कोही आए म शंकर कँडेल दाइजस्तो हँसिलो, व्यस्त र समाधानपरक जीवन जिउनुपर्छ भन्थेँ।
आज आफ्नो आँखा अघि त्यो आशा दिलाउने दियो निभ्यो, सहन गाह्रो भो।” जिल्लाका परिचित चिकित्सक डा. भोजराज अधिकारीले व्यवसायी शंकर कँडेलको निधनको खबर सुनेपछि सामाजिक सञ्जालमा पोष्ट गरेकाे ‘स्टाटस’ हो यो।
यो साता जिल्लाका नेता कार्यकर्ता, व्यवसायी सबैको सामाजिक सञ्जालमा यस्तै स्टाटसले भरिए। कँडेलले मंगलबार साँझ देहत्याग गरेसँगै जिल्लामा स्तब्धता छायो। धेरैले त्यो रात सुतेनन्। चोक चोकमा कँडेलकै चर्चा भयो। भोलिपल्टबाट सडकमा उनकै न्यायका लागि जिल्लावासी उर्लिए। यसलाई न त कुनै दलले रोक्न सक्यो, न त प्रशासनले।
पाँच दशकको उमेर पार गरेका कँडेल जहिले पनि हँसिलो मुद्रामा भेटिन्थे। सबैलाई लाग्थ्यो, यस्तो मान्छेलाई पक्कै कुनै पीडा छैन। नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ भन्दै थिए, “कँडेललाई भेटेपछि ऊर्जा उत्पन्न हुने गर्दथ्यो।” उनी मात्रै होइन, सबै पार्टीका नेता कार्यकर्ता र व्यवसायीका लागि ऊर्जाशील थिए कँडेल।
पार्टी, संघ संस्थालाई सहयोग चाहिँदा होस् वा कसैलाई बन्द व्यापार गर्नुपर्दा कँडेलकै ढोकामा सबै पुग्ने गर्दथे। कोही कसैले खाली हात फर्किनु पर्दैनथ्यो। कँडेलले जहाँ देहत्याग गरे, सुरुमा देख्दै गर्दा धेरैले आफूलाई सम्हाल्न सकेनन्।
तिनैमध्येका एक हुन् उद्योग वाणिज्य संघ चितवनका पूर्वअध्यक्ष राजन गौतम। उनको घर कँडेलको कार्यालयबाट नजिकै छ। घटनालगत्तै पुगेका उनले सुरुमा पत्यारै गरेनन्। उनले भने, “जब मैले कँडेल नै देखेँ, सम्हाल्न सकिँन, म ढलेछु, झण्डै २० मिनेटपछि बल्लतल्ल उठेँ।”
आफूले कँडेलको निधन भएको सुनेसँगै निशब्द बनेको पूर्व सांसद कृष्णभक्त पोखरेलले बताएका छन्। उनले यसलाई अपत्यारिलो घटनाका रुपमा चित्रण गरेका छन्।
कांग्रेस चितवनका पूर्वसभापति जीतनारायण श्रेष्ठले सबैलाई हँसाउने कँडेलको निधनले सबैलाई रुवाएको बताए। अप्रत्याशित घटनाले कांग्रेसलाई त क्षति पुगेकै छ समग्र व्यावसाायिक क्षेत्रमा अपूरणीय क्षति पुगेको उनले बताए। उनले भने, “कँडेल कांग्रेसको मात्रै नभएर साझा व्यक्तित्व हुनुहुन्थ्यो।”
व्यवसायी कँडेल नेपालका परिचित पोल्ट्री व्यवसायी थिए। कांग्रेस पार्टीका महासमिति सदस्य पनि थिए। आफूले सम्हालेको अनमोल फिड्सको अधिकांश शेयर बिक्री गरी अबको यात्रा राजनीतिक बनाउने योजनामा उनी थिए। पार्टीभित्रका गुट उपगुटको बीचमा साझा चरित्र बनाएका कँडेललाई कांग्रेस भनेर भन्दा सामाजिक व्यक्तित्व भनेर सबैले चिन्ने गर्दथे।
कँडेलले भरतपुर महानगरपालिका-३ स्थित आफ्नै कार्यालयमा गत मंगलबार देहत्याग गरेका हुन्। उनले लेखेको मृत्युपत्रमा दुई पात्रलाई मृत्युको कारण उल्लेख गरिएको छ।
उनीहरुलाई पक्राउ गरी कारबाहीका लागि दैनिक प्रदर्शन हुँदै आएका छन्। उनीहरुमध्ये एक जीवन रावल पक्राउ परेका छन् भने प्रदीप रुंगाटा फरार छन्। रावल कँडेलकै कम्पनीका चार्टर एकाउन्टेट हुन् भने रुंगाटा कम्पनीको ८५ प्रतिशत शेयर खरिद गरेका साझेदार हुन्।
कँडेलको निधन भएको छैटौँ दिन आइतबार पवित्र तीर्थस्थल देवघाटमा अन्त्येष्टि गरिएको छ। उनी भरतपुर महानगरपालिका-८ निवासी थिए। रासस |
नारायणघाट-बुटवल सडक खण्डको काम २६ प्रतिशत मात्रै बुटवल। महेन्द्र राजमार्ग अन्तर्गत बुटवल-नारायणगढ सडक विस्तारका लागि थप डेढ बर्ष म्याद थप्न अनुरोध परेको छ।
कोरोनाको महामारी देखाउँदै यसअघि दुई पटक म्याद थप गरेको चिनियाँ ठेकेदार कम्पनिले डेढ बर्ष म्याद थप गरिदिन अनुरोध गरेको हो। सो सडक खण्डको काम हाल २६ प्रतिशत मात्रै सम्पन्न भएको छ।
चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले आउँदो भदौ २२ गतेसम्म काम सम्पन्न गर्ने प्रतिबद्धता जनाउँदै यस अघि दोस्रो पटक म्याद थप गरेको थियो, जसअनुसार उसले जम्मा यस अवधिमा थप २ प्रतिशत मात्र काम सम्पन्न गरेको थियो।
कोरोना कालमा करिब डेढ वर्ष कामै नभएका कारण पटक पटक म्याद थप्नु परेको चिनियाँ ठेकेदार कम्पनिले जनाउँदै आएको छ भने चिनियाँ कम्पनिले माग गरे अनुसार सडक निर्माणको लागत नबढ्ने गरी म्याद थपबारे निर्णय गर्न लागिएको दाउन्ने गैडाकोट खण्डका प्रमुख इन्जिनियर आषिश थापा मगरले जानकारी दिएका छन्। |
उदयपुरमा स्थानिय तहबाटै श्रम स्विकृति दिन सुरु उदयपुर। वैदेशिक रोजगारीमा जानेहरुका लागि स्थानिय पालिकाहरुले श्रम स्विकृति दिन सुरु गरेका छन्। यसै क्रममा त्रियुगा नगरपालिकाले पनि आइतबारबाट वैदेशिक रोजगारीमा जानेलाई श्रम स्वीकृति दिन सुरु गरेको हो।
संघीय सरकारले वैदेशिक रोजगारीमा जानका लागि स्थानीय तहमार्फत श्रम स्वीकृति दिने व्यवस्था मिलाएसँगै त्रियुगा नगरपालिकाले पनि आइतवारबाटश्रम स्विकृति दिन सुरु गरेको नगर प्रमुख वसन्त बस्नेतले जानकारी दिए। उनका अनुसार यसरी श्रम स्विकृति दिँदा आफ्नो नगरपालिका भित्रको सम्पुर्ण विवरण प्राप्त हुने र वैदेशिक रोजगारीबाट फर्केर आएकालाई नयाँ काम दिने कार्यका लागि महत्वपुर्ण अभिलेख पनि हुनेछ।
श्रम स्विकृतिका लागि वडा नम्बर ६ का चिरन्जिवी पोखरेलले साउदी अरेबिया जानका लागि माग गरेको श्रम स्वीकृतिको निवेदनलाई सदर गर्दै नगरपालिकाले सो कार्यको प्रारम्भ गरेको हो।
संघीय सरकारले गत वैशाख ३ देखि संघ र प्रदेशमा रहेको श्रम स्वीकृत गर्ने सेवालाई विकेन्द्रित गर्दै स्थानीय तहसम्म पुर्याउने निर्णय लिएको थियो। |
null |
null |
पाल्पा महोत्सव समापन रामपुर (पाल्पा)। पाल्पामा सञ्चालन भएको महोत्सव सम्पन्न भएको छ । पाल्पा उद्योग वाणिज्य सङ्घको आयोजनामा गत वैशाख १४ गते देखि सुरु भएको महोत्सव आज सम्पन्न भएको हो ।
दश दिनसम्म चलेको महोत्सवमा करिब रु आठ करोड बराबरको कारोबार भएको तथा करिब तीन लाख दर्शकले मेला अवलोकन गरेको सङ्घका अध्यक्ष शैलेन्द्र भट्टराईले जानकारी दिए । स्थानीय उत्पादन, कृषि, घरेलु, पाल्पाली ढाकालगायतका विभिन्न वस्तु मेलाको आकर्षण थिए ।
यहाँ सञ्चालन भएको महोत्सवको नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइतबार समापन गर्दै निजी क्षेत्र र सरकार एकापसमा मिलेर काम गर्नुपर्ने बताए । अहिले देश चरम आर्थिक सङ्कटमा गुज्रिएकाले आर्थिक चलायमान गर्न, व्यापार व्यावसाय बढाउन निजी क्षेत्र र सरकार मिलेर काम गर्नुपर्ने उनको जोड थियो ।
“मेला महोत्सवबाट आर्थिक चलायमान हुने, स्थानीय उत्पादनहरू बिक्री वितरणमा टेवा पुग्ने, स्थानीयस्तरका उद्योगहरू फस्टाउँदै जाने भएकाले उद्योगी व्यवसायी सङ्घसंस्थाले मात्र यस्ता अभियान सञ्चालन गर्नुपर्छ”, उनले भने, “महोत्सवले आर्थिक क्रियाकलापलाई चलायमान बनाउने हुँदा मेला सञ्चालनमा उद्योग वाणिज्य सङ्घले राम्रो भूमिका खेलेको छ ।”
उनले अहिले देशमा उद्योग व्यवसायीभन्दा भिन्न प्रकृतिका विभिन्न क्लब सङ्घसंस्थाहरूले पनि महोत्सव गरेर व्यक्तिगत फाइदा लिने काम भइरहेकाले राज्यले यस्ता संस्थाहरूलाई नियन्त्रण गर्नुपर्ने बताए । स्थानीय सरकारले लगानी गर्ने उचित वातावरण सिर्जना गरिदिए पाल्पाका पर्यटकीय क्षेत्रमा लगानी गर्न आफू तयार रहेको समेत ढकालले प्रतिबद्धता जनाए । |
दर्ताविना सञ्चालनमा रहेका कुश्मीशेराका पसलमा ताला बागलुङ। पटकपटक आग्रह गर्दासमेत कानुनी प्रक्रिया पूरा नगरेका बागलुङको कुश्मीशेरा बजारका केही पसलमा जिल्ला प्रशासन कार्यालयले ताला लगाएको छ । अनुगमनका क्रममा दर्ताविना नै सञ्चालनमा रहेका पसलमा ताला लगाइएको हो ।
जैमिनी नगरपालिकाको मुकाम रहेको कुश्मीशेरा बजारमा शनिबार अनुगमन गरिएको थियो । जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जैमिनी नगरपालिकाका जनप्रतिनिधि, कृषि शाखा, प्रहरी, पत्रकार र बजार व्यवस्थापन समितिको रोहवरमा बजार अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए।
अनुगमनका क्रममा स्वास्थ्य उपचार जस्तो संवेदनशील कार्यमा संलग्न क्लिनिकसमेत विनादर्ता निर्वाध सञ्चालनमा रहेको पाइएको थियो । “यहाँ लामो समयदेखि सञ्चालनमा रहेको ‘मेरो डेण्टल क्लिनिक’ दर्ता नभएको भेटियो, यसअघि पनि पटकपटक दर्ता गरेर सञ्चालन गर्न आग्रह गरिएको थियो”, बरालले भने, “अटेरी गरेकाले क्लिनिकमा ताला लगाइदिएका छौँ ।” अन्य केही श्रृङ्गार पसलमा समेत प्रशासनले ताला लगाएको छ ।
अनुगमनका क्रममा म्याद नाघेका खाद्यान्न भेटिएको, दर्ता नगरी व्यवसाय सञ्चालन गरिएको, केही पसलमा बिल, छाप नभएको, मूल्यसूची नराखी कारोबार गरिएको, एकै ठाउँमा फरकफरक प्रकृतिका सामानको व्यवसाय गरेको पाइएको बरालले बताए।
पटकपटक अनुगमन गरी सुझाव दिँदा पनि अटेरी गरिएको भन्दै केही व्यवसायका प्रमुखलाई आज जिल्ला प्रशासन कार्यलय बोलाइएको छ । अनुगमनका क्रममा थोरै समस्या रहेका पसललाई सुझाव दिइएको थियो भने कानुनी समस्या रहेका पसललाई बन्दसमेत गराई स्थानीय जनप्रतिनिधिलाई चाबी हस्तान्तरण गरिएको छ । |
तमानलाई ‘मौलिक गाउँ’ बनाइँदै ढोरपाटन। बाक्लो मगर बस्ती। काठ, ढुंगा र माटोले सलक्क बान्की मिलाएर बनाइएका घरहरु। रातोमाटो र सेतो कमेरोले पोतिएका ती घरले धेरैलाई आकर्षित गरिरहेका छन्। वरिपारी गाउँमा बीचमा कलकल बग्ने तमानखोला। चौबिसै घण्टा सिरसिर हावा चलिराख्ने यो गाउँको विशेषता हो।
बागलुङको तमानखोला गाउँपालिका–३ मा पर्ने यो गाउँ निकै रमणीय छ। परम्परागतरुपमा बनेका घर, यहाँ बस्ने मगर समुदायको बोलीचाली र सरल व्यवहारले आगन्तुकलाई स्वागत गरिरहेको छ। करिब डेढ दशक अगाडि मोटरबाटोले जोडिएको तमान गाउँमा अहिले छुट्टै रौनक देखिन्छ।
विसं २०६७ मा सडकले जोडिए पनि उतिबेला अहिलेको जस्तो चहलपहल हुँदैनथ्यो। म्याग्दीको ओखारबोटदेखि लाम्मेला हुँदै तमान जोडिएको सडकले अहिले गाउँको मुहारै फेरिदिएको छ। गाउँले जनजीवन, आफ्नै रहनसहन र परम्पराले भरिएको भए पनि तमान गाउँको आकर्षक भनेको ढुंगे घर नै हो।
गाउँमा प्रशस्तै ढुंगा पाइने हुँदा स्थानीयले सदुपयोग गरी घरलाई चिटिक्क बनाउँदै आएका छन्। जिल्लाको धेरै ठाउँमा यस्ता मौलिक घर हराउँदै गइरहेका सन्दर्भमा यहाँ भने जहाँतहीँ देख्न सकिन्छ। घरका झ्याल र ढोकामा कलात्मक शैलीमा कुँदिएका फूलबुट्टा तथा आकृतिले झनै मोहित बनाउँछ।
गाउँका टोलटोल र बस्तीबस्तीमा एकै प्रकारका घरले आगन्तुकलाई घण्टौँ भुलाउन सक्छन्। तर पछिल्लो समय आधुनिक प्रविधिको विकासले गर्दा यस्ता मौलिक घर संकटमा पर्ने खतरा बढेको छ। गाउँमा सडकको सहज पहुँच पुगेपछि कंक्रिटका घर तथा भवन ठडिन थालेका छन्। यस्ता घर भवनलाई रोकी तमानलाई ‘मौलिक गाउँ’का रुपमा विकास गर्न तमानखोला गाउँपालिकाले योजना बनाएको छ।
गाउँपालिकाले गाउँका सबै घरलाई एउटै रङ, एउटै शैली र एउटै आकारप्रकारको बनाउने योजना अघि सारेको छ। तमान गाउँमा अब कसैले पनि कंक्रिटका भवन बनाउन नपाउने गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले बताए।
प्रविधिको बढ्दो विकास र प्रयोगले ग्रामीण जीवनशैली, यहाँको संस्कार संस्कृति, सौन्दर्य र गाउँको वास्तविक महत्व हराउँदै गएपछि गाउँपालिकाले तमान गाउँलाई पुरानै स्वरुपमा संरक्षण गर्न थालेको उनको भनाइ छ। पछिल्लो समय स्थानीयस्तरमा भएका स्रोतसाधनलाई बिर्सिएर आयातीत वस्तुको प्रयोग बढी हुन थालेको हुँदा यसलाई रोक्ने प्रयास गरेको अध्यक्ष बुढामगरले बताए।
“तमान निकै पुरानो गाउँ हो, अहिले पनि यहाँका घर पुरानै शैलीका छन्, गाउँको संस्कार संस्कृति र परम्परा पनि अहिलेसम्म जीवितै छ, अब मासिदै जाने खतरा बढेको छ, यसलाई रोक्न हामीहरु लागेका छौँ, तमान गाउँलाई एउटा ‘सांस्कृतिक गाउँ’ बनाउने उद्देश्य हो”, अध्यक्ष बुढा मगरले भने। गाउँलाई अध्ययन अवलोकन र अनुसन्धान गर्ने थलोका रुपमा विकास गर्ने आफूहरुको लक्ष्य रहेको उनको भनाइ छ।
अध्यक्ष बुढामगरले यस गाउँलाई पर्यटकीय गन्तव्यका रुपमा समेत विकास गरिने बताए। घरका छेउछाउमा ढुंगा बिछ्याउने, घरमा लगाइने रङ, ढुंगाको छानो पनि एकै प्रकारको बनाइने उनको भनाइ छ। देशका दश नमुना सहरमध्येको एक बुर्तिबाङ बजारदेखि गाडीमा दुई घण्टामा तमान गाउँ पुग्न सकिन्छ। बोंगादोभान र खुंखानी दुवैतर्फबाट पुग्न सकिन्छ भने म्याग्दीको मालिका हुँदै सोलेडाँडाबाट पनि पुग्न सकिन्छ।
स्थानीय ओमकुमारी बुढाथोकीले पछिल्लो समय गाउँमा मौलिक घर कम बन्न थालेको बताइन्। अहिले बन्ने अधिकांश घर नयाँ शैलीका हुने गरेको उनको भनाइ छ। नयाँ घरमा पहिलेको जस्तो रातोमाटो र कमेरोले पोत्न छोडेर विभिन्न थरिका रङ लगाउन थालिएको बुढाथोकी बताउँछिन्।
बुढाथोकी भन्छिन्, “अहिले त गाउँ घरमा बजारको जस्तो चलन आउन थालिसक्यो, घरहरु पनि नयाँनयाँ खालका बन्न थाले, चालचलन पनि नयाँ आए, उतिबेलाको जस्तो परम्परा अहिले मान्न छोडियो, मान्छे पढ्ने लेख्ने भए, त्यही भएर होला पुराना संस्कृति सबै विस्तारै हराउँदै गएका छन्।”
स्थानीय मनबहादुर बुढाथोकीले पहिले तमान गाउँका अबै घर ढुंगा माटोको गारो र छानो पनि ढुंगैको हुने गरेकोमा अहिले सिमेन्ट र जस्तापाताले छाउन थालेको बताए। तमान गाउँमा अहिले करिब दुई सय ५० घर रहेकामा आधा दर्जन बढी सिमेन्टका कंक्रिट बनेको सुनाए। गाउँपालिकाले कलासंस्कृति संरक्षण गर्न बनाएको योजना स्वागतयोग्य रहेको बुढाथोकीको भनाइ छ।
“पहिला गाउँका पूरै घर ढुंगाले छाएका थिए, उतिबेला गाडी गुड्ने सडकको पहुँच थिएन, जस्तापाता आउँदैनथ्यो, घर बनाउँदै ढुंगाकै प्रयोग हुन्थ्यो, अहिले त गाउँको कुना काप्चासम्म सडक पुग्यो, सडक जहाँ पुग्यो, त्यही जस्तापाता पुग्यो, जस्तापाता पुगेपछि मान्छेले त्यसैले घर छाउन थाले”, बुढाथोकीले भने। पहिले घर स्थानीय सिकर्मी र डकर्मीले बनाउँथे, उनीहरुमा निकै राम्रो कला र सीप भए पनि अहिले त्यो सीप पनि हराएको उनको भनाइ छ। |
साइपालमा खाद्य संकट, सिंहदरबार नधाएर पुग्दैन चामल बझाङ। साइपाल गाउँपालिका–४ धुलीका सोनाम तामाङको परिवारमा सात जना छन् । गाउँमै बस्ने उनीहरूको आयस्रोत ‘सिजन’अनुसार यार्सागुम्बा सङ्कलन नै हो । दुई वृद्धावस्था उमेरका बाहेक पाँचै जना यार्सागुम्बा सङ्कलनमा हिमाल चढ्नुहुन्छ । यसबाट तामाङको परिवारले रु पाँच–छ लाख आम्दानी गर्दछ । त्योबाहेक उनीहरूको आम्दानीको स्रोत अन्य केही छैन ।
एक महिना पुग्ने गरी मात्रै खाद्यान्न उत्पादन हुने धुलीमा ११ महिना किनेरै खानुपर्छ । सोनामको परिवारमा वर्षभरिका लागि करिब ११ क्विन्टल चामल आवश्यक पर्छ । गएको वर्षमात्रै उनको परिवारले नौ क्विन्टल चामल किन्नुपर्यो । सहुलियत चामल (खाद्य संस्थानबाट प्राप्त) साढे दुई क्विन्टलमात्रै पाएपछि महँगोमा किन्नुपरेको सोनामले बताए।
तामाङ परिवारले एक वर्षमा रु एक लाख चामल ढुवानीमै खर्च गरे। चामलसँगै अन्य दैनिक उपभोग्य सामानमा पनि वार्षिक झन्डै रु एक लाख खर्च हुने गरेको उहाँले सुनाउनुभयो । “सदरमुकाम चैनपुरमा पाउने सामान साइपालमा पुग्दा चौबर हुने गर्छ”, उनले भने, “साइपालको धुली पुग्न चैनपुरबाट पाँच दिन पैदलयात्रा गर्नुपर्छ । पाँच दिन लगाएर बोकेको सामान तेब्बरभन्दा बढी नै हुन्छ ।” चिसोले अलि बढी नै खाना खाने त्यसैमा दुवै छाक भात खाने हुँदा क्विन्टलका क्विन्टलनै खरिद गर्नुपरेको उनले बताए।
सोनामको जस्तै अवस्था छ, साइपाल गाउँपालिका–५ बलौडीका पदम बोहराको । पदमको परिवारमा पाँच छन् । उनको परिवारलाई वार्षिक सात क्विन्टल चामल आवश्यक पर्छ । हिउँदेबाली कोदो र जौँ एक महिनामात्रै पुग्ने भएपछि नियमित किनेरै खानुपरेको उनले बताए। “गत वर्ष खाद्यको चामल डेढ क्विन्टलमात्रै पाएको हुँ”, उनले भने, “त्यो चामल दुई महिनामात्रै पुग्यो । बाँकीका महिना किनेरै खायौँ ।”
ताक्लाकोट नाका बन्द हुँदा सास्ती
नेपाल–चीन सीमानाका पूर्णरूपमा बन्द भएको पाँच वर्ष भयो । नाका बन्द हुँदा मारमा परे साइपालवासी । धुलीबाट नजिकै पर्ने हुँदा साइपालवासीका दैनिक उपभोग्य सामान ताक्लाकोटबाटै आउँथे । खाद्य संस्थानले दिने मूल्यभन्दा सस्तोमा चिनियाँ खाद्यान्न साइपाल पुग्थ्यो ।
सोनामकी श्रीमती सोनाम तामाङ (दम्पतीको एउटै नाम)ले भनिन्, “हामीलाई खाद्य सङ्कट हुन लागेको पाँच वर्ष नै भयो । ताक्लाकोट नाका बन्द भएपछि सदरमुकामबाट सामान ल्याउन सुरु गर्यौं । सदरमुकामबाट ल्याउँदा सामानको मूल्य चौबरभन्दा बढी पर्न थाल्यो ।”
साइपाल–५ न्यूनाका वडाध्यक्ष जैपाल बोहराका अनुसार ताक्लाकोटमा नाकाबन्दी हुनुअघि वडा नं ३, ४ र ५ का गाउँ न्यूना, बलौडी, लट्टोन, कोल, रजाडा, सैनगाउँ, बिछाडा, धलौन, एैराडी, पराली, डाउगाउँलगायतमा चिनियाँ सामान नै हुन्थ्यो ।” धलौनमा भने तलकोट गाउँपालिका पनि नजिक पर्ने हुँदा दुवैतिरबाट आवश्यकतानुसार सामान आउने गरेको उनी सम्झन्छन्। तर नाकाबन्दीपछि भने आवतजावत नै ठप्प भएको उनले बताउए।
दुई वर्ष अगाडि साइपालमा निकै खाद्य संकट थियो । भोकमरी भएपछि धुलीका भीम धामीले चैनपुरबाट चामल माग गरे। तलकोटको रूपातोलाका गोविन्द बोहरा, उनका दाई प्रदीपसहित तीन जनाले एक क्विन्टल चामल धामीको घरमा पुर्याए। एक क्विन्टल चामल पुर्याए वापत भीमबाट प्रतिकेजी रु दुई सयका दरले रु २० हजार बोहरा दाजुभाइले बुझे।
“रूपातोलाबाट धुलीसम्म प्रतिकेजी रु दुई सय लागेकै दररेट हो”, गोविन्दले भने, “अरु सामान त रु दुई सयकै दरले सधैँ बोकिन्थ्यो, अहिले पनि सोही मूल्य पर्ने सामान बोकिरहेका छौँ । चामल भने त्यसबखत नै पहिलो चोटी बोकेका हौँ ।”
मान्छेले चामल बोकेर साइपालको धुली पुर्याउँदा प्रतिक्विन्टल (मोटो चामल) रु साढे २२ हजारमा पुग्छ । खच्चडमा बोकाउँदा प्रतिक्विन्टल रु १३ हजार पर्छ । न्यूनाका जीवन बोहराले भने, “खच्चड हिउँदयाममा मात्रै आउँछ । बर्खामा खोलानाला बढ्ने हुँदा मान्छेले मात्रै आवतजावत गर्छन् । बर्खामा कसैको परिवारमा खाद्यसङ्कट भए बोकेरै ल्याउनुपर्छ । आफैँले बोक्न नसके भरियालाई ज्याला तिरेर ल्याउनुपर्छ ।”
गोविन्दका अनुसार किर्किट्या हुँदै कालडाँडाबाट न्युनासम्म प्रतिकेजी रु एक सय ८० ज्याला लाग्छ भने बलौडीसम्म रु एक सय ९० र धुलीसम्म प्रतिकेजी रु दुई सय लाग्छ । बोहोराले भने, “हामी महिनामा चार–पाँचपटक साइपालको सामान बोकेर गन्तव्यमा पु¥याउँछौँ ।” प्रायः फलामका रड, किला, जस्तापाता, भाँडाकुँडालगायतका विभिन्न सामान केजीको हिसाबले बोक्ने गरेको उनले बताए। “खाद्यको ढुवानी बढीजसो खच्चडबाट नै हुन्छ”, उनले भने।
ठेक्का प्रक्रियामा निकै सास्ती
साइपालवासीले खाद्य संकटको समस्या लिएर राज्यको दैलो चहार्न थालेको वर्षौैँ बितिसक्यो । करिब तीन हजार जनसङ्ख्या रहेको साइपालमा खाद्यान्नका लागि पालिकाले हरेक वर्ष सिंहदरबार चहार्दै आएको छ ।
साइपाल गाउँपालिकाका पूर्वअध्यक्ष राजेन्द्र धामी आफ्नो पाँचवर्षे कार्यकालमा चारपटक खाद्यान्नका लागि बालुवाटार पुगेका थिए। अहिलेका अध्यक्ष मानवीर बोहरा र उपाध्यक्ष डोल्मा तामाङ पनि खाद्यको समस्या समाधानका लागि यसै वर्ष तीनपटक राजधानी पुगिुसके। प्रधानमन्त्रीको ध्यानाकर्षणपछि मात्रै साइपालले छिटो चामल पाउने गरेको पूर्वअध्यक्ष धामीले बताए।
उनले भने, “साइपालका लागि स्थायी डिपो नहुँदा सधैँ खाद्यान्नका लागि पिरलो हुन्छ ।” ठेकेदारले पनि आफूखुसी खाद्यान्न पु¥याउँदा वितरणमा समानता नहुने गरेको उनले बताए।
साइपालमा खाद्यान्नका लागि यस वर्ष दुई हजार पाँच सय क्विन्टल चामलको ठेक्का परेको छ । चालु आर्थिक वर्षमा साइपालमा ढुवानी गर्ने गरी देवराज जोशीले ठेक्का लिएका छन्। तर चालु आवको १० महिना बित्नै लाग्दासमेत एक हजार पाँच सय क्विन्टलमात्रै चामल पुगेको साइपाल गाउँपालिकाका अध्यक्ष मानवीर बोहराले बताए।
उनका अनुसार साइपालमा चामलको आवश्यकता पाँच हजार क्विन्टल हो । तर ठेकेदारले समयमै ढुवानी नगर्दा न ठेक्का रद्द गर्न सकिने, न त थप्न नै सकिने भएको छ । “साइपालमा खाद्यान्न नभएर कन्दमूलको खोजी गर्नुपर्ने अवस्था भइसकेको छ”, उनले भने, “यता ठेकेदारले वेवास्ता गरेजस्तो देखिन्छ । हामीले दुई हजार पाँच सय क्विन्टल चामल दशैँअगावै पु¥याइसक्नुपथ्र्यो । त्यसपछि फेरि दोस्रो चरणमा थप दुई हजार पाँच सय क्विन्टलको तयारी गर्ने सोच बनाएका थियौँ । तर ठेकेदारले १० महिना बित्न लाग्दासमेत पहिलो ठेक्का नै पूरा गरेको छैन”, उनले भने।
अध्यक्ष बोहराका अनुसार अहिले साइपालमा गएको चामल पनि निश्चित व्यक्तिको कब्जामा गइरहेको छ । “स्थानीय सबैसँग धेरै खरिद गर्न पैसा पनि हुँदैन । व्यापारीदेखि हुनेखानेले बढी चामल राख्ने गरेको सुनिएको छ”, अब निगरानी बढाउनुपर्ने उनले बताए।
चालु आवका लागि साइपालमा गएको चामल वडा नं ४ र ५ मा बढी गएको छ । गएको मङ्सिरमा सबैभन्दा बढी न्यूना गाउँमा चामल गएको अध्यक्ष बोहराले बताए। यता वडा नं ५ का वडाध्यक्ष जैपाल पनि यसपटक भोकमरी टर्नेमा विश्वस्त देखिएका छन्। “पहिलो लडमा टाढाका गाउँमा पठायौँ । अहिले आइरहेको छैन”, उनले भने। अन्य वडामा भने दुई महिना पुग्ने गरी समेत चामल नगएको पालिका अध्यक्ष बोहराले बताए।
साइपालमा कतै बढी त कतै कम खाद्यान्न गएकोबारे प्रमुख जिल्ला अधिकारी नारायण पाण्येयले पनि वितरणमा एकरूपता हुनुपर्ने बताए। “योभन्दा अगाडि मनोमानी ढङगले चामल वितरण गरेको देखियो”, प्रजिअ पाण्डेयले भने, “कुनै गाउँमा चार–पाँच महिनाकै लागि पुग्ने गरी चामल गएको देखिन्छ भने कुनै गाउँमा एक–एक बोरामात्रै चामल गएको छ । अब वडाध्यक्षहरूले आफ्नो मातहतमा लिएर नुन, खाद्यान्न वितरण गर्नुपर्छ”, यसका लागि पत्राचार गरेको उनले बताए। |
मुगु हिमपहिरो : जुम्लाका तीन जनाको मृत्यु जुम्ला। मुगुको च्यार्खु लेकमा हिउँ पहिरामा परेर जुम्लाको पातारासी गाउँपालिकाका तीन जनाको घटनास्थलमै मृत्यु भएको छ।
पातारासी-२ तल्फीगाउँका ४० वर्षीय तारासिंह सार्की, ३६ वर्षीय पुन्न सार्की र ३६ वर्षीय वीर बोहोराको मृत्यु भएको पातारासी गाउँपालिकाका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिइन्।
यार्सा संकलनका लागि पातारासीबाट गएका १४ जनाको टोलीमध्ये तीन जनाको मृत्यु भएको उनले बताए। अन्य सामान्य घाइते भएका छन्। दुई जना सकुशल रहेको खबर प्राप्त भएको छ।
प्रहरीको टोली घटनास्थलतर्फ गएको छ। उनीहरुको उद्धार गर्न मुगुको जिल्ला प्रशासन कार्यालय, प्रदेश सरकार र संघीय सरकारलाई जानकारी गराएको उपाध्यक्ष रोकायाले जानकारी दिइन्।
शनिबार दिउँसो खबर आएसँगै इलाका प्रहरी चौकी मुगुबाट प्रहरीको टोली घटनास्थलतर्फ गइसकेकाले के-कसरी घटना भयो? हिउँपहिराका कारण हो कि अन्य कारण हो भनेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मुगुका निमित्त प्रहरी नायब उपरीक्षक सुदर्शन पन्थीले जानकारी दिए।
यार्सागुम्बा संकलनका लागि गाउँपालिकाले अगामी जेठ ४ गतेदेखि प्रवेश अनुमति खुला गर्ने भनिए पनि त्यो सूचनालाई छलेर अहिले सयौँ व्यक्ति अर्कै बाटो हुँदै मुगुको पाटनमा पुगेका छन्। बेपत्ता भएका तीन जनासहितको टोली पनि अर्कै बाटो भएर पाटनमा पुगेको थियो। |
हिम पहिरोमा परेर जुम्लाका तीन जना बेपत्ता मुगु । हिम पहिरोमा परेर जुम्लाका तीन जना बेपत्ता भएका छन् । जुम्लाको पातारासि गाउपालिका(२ तल्फि गाउँका तारासिंह सार्की, पुन्न सार्की र बीरबोहोरा बेपत्ता भएको जुम्लाको पातारासि गाउँपालिकाका अध्यक्ष पुन्न सिंह बोहोराले बताए ।
अन्दाजी १२ देखि १३ जनाको टोली मध्ये ३ जना बेपत्तामा परेको बोहोराको भनाई छ । उनका अनुसार उनीहरू मुगुको मुगुम कार्मारोङ्ग गाउपालिका–२ च्यार्खु भन्ने लेकमा आज बेपत्ता भएको अध्यक्ष बोहोराले बताए ।
उनीहरू यार्सा संकलनको लागि सो क्षेत्रमा गएको जानकारी दिए । उनीहरु बेपत्ता भएको भनेरमात्र खवर आयो यसको एकिन जानकारी आउन बाँकि रहेको बताए । बेपत्ता भएता तीन जनालाई उद्धार गर्न मुगुको जिल्ला प्रशासन कार्यालय, प्रदेश सरकार र संघीय सरकार लाई जानकारी गराएको उनको भनाई छ । सबै क्षेत्र बाट उद्धाको लागि पहल भइरहेको र भौगोलिक अवस्थाले पनि उद्धारमा समस्या देखिने बताइएको छ । |
null |
शिशु बुद्धलाई लुम्बिनीबाट तिलौराकोट लगियो रुपन्देही । मायादेवीले सिद्धार्थ गौतमलाई लिएर तिलौराकोट दरबार फर्कँदै गर्दाको प्रतीकका रूपमा लुम्बिनीबाट शिशु बुद्ध कपिलवस्तुको तिलौराकोट लगिएको छ ।
लुम्बिनीमा जन्मिनुभएका सिद्वार्थ गौतमलाई बुद्धपूर्णिमाको अर्को दिन लुम्बिनीबाट गृहनगर प्राचीन कपिलवस्तु लगिएको थियो । त्यही दिनको प्रतीकका रूपमा आज लुम्बिनीबाट सिद्वार्थलाई तिलौराकोट दरबार लगिएको हो । लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले कपिलबस्तुका प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यलाई शिशु बुद्ध (बोधिसत्व सिद्वार्थ)को धातुको मूर्ति हस्तान्तरण गरी प्राचीन तिलौराकोट दरबार पठाइएको हो ।
बुद्धकी आमा मायादेवी माइतीघर जाँदा लुम्बिनीमा जन्मेका बुद्धलाई गृहनगर तिलौराकोट फर्कँदाको क्षणलाई स्मरण गरी बोधिसत्व बुद्धको मूर्तिको शोभायात्रा गरिएको कोषका सदस्यसचिव शाक्यले बताउनुभयो । लुम्बिनी विकास कोषले विगतका वर्षमा रथयात्रा गरी शिशु बुद्धलाई कपिलवस्तुको तिलौराकोट लैजाने कार्यक्रम गरे पनि यो वर्ष भने गाडीमै पठाइएको छ ।
बुद्धका पिता राजा शुद्धोधनले छोरा राजकुमार सिद्धार्थ जन्मिएपछि कपिलवस्तुको तिलौराकोटबाट बाजागाजासहित लिन सेना पठाउनुभएको थियो । त्यही दिनको सम्झनास्वरूप लुम्बिनी विकास कोषले केही वर्षयता बुद्ध जयन्तीको अर्को दिन शिशु बुद्धलाई लुम्बिनीबाट तिलौराकोट लैजाने गरिएको छ ।
बौद्ध ग्रन्थअनुसार मायादेवी गर्भवती भएपछि माइत देवदह जाने इच्छा गर्नुभएको थियो । रमणीय बगैँचा लुम्बिनी पुगेपछि डोलीबाट ओर्लिएर प्राकृतिक सौन्दर्यको आनन्द प्राप्त गर्न नपाउँदै सुत्केरी व्यथा लागेपछि अशोकको वृक्ष समातेर राजकुमार सिद्धार्थलाई जन्म दिनुभएको थियो । यो खबरले तिलौराकोट, कपिलवस्तु सहर र देवदहमा हर्षोल्लास भयो र सिङ्गो कपिलवस्तु सहर सिङ्गारेर चिटिक्क पारिएको थियो ।
सुत्केरी मायादेवी, शिशु सिद्धार्थसहित सयौँको सङ्ख्यामा रथमा बसेर कपिलवस्तु फर्किनुभएको थियो । त्यतिबेला कपिलवस्तुका प्रत्येक नागरिकले राजा शुद्धोधनलाई पुत्रलाभ भएको खुसीयालीमा घर–घरबाट स्वागत एवम दीपावली गरेका थिए । सोही दिनको स्मरण गर्दै लुम्बिनी विकास कोषले शिशु बुद्धलाई बुद्ध जयन्तीको भोलिपल्ट तिलौराकोट लैजाने कार्यक्रम गर्दै आएको छ । |
विकासका नाममा खोला र पहाड क्षेत्र दोहन, सरोकारवाला निकाय मौन सुर्खेत। मध्यपहाडी लोकमार्ग जाजरकोट खण्डमा मौकाछोपी लगातार खोला, पहाड क्षेत्र दोहन भइरहेको छ । मध्यपहाडीलोकमार्ग जाजरकोट खण्डको कुदुदेखि गिमा र गिमादेखि थलहसम्मको कालोपत्रेको जिम्मा पाएको ठेकेदारले पहाड दोहन गरेको हो ।
रातदिन मेसिन प्रयोग गरेर निर्माण कम्पनीले पहाड दोहन गरेर ढुङ्गा, गिट्टी, निकासी गर्दासमेत सरोकारवाला निकाय मौन छन् । भेरी नगरपालिका ९ र ११ जगतिपुरमा हरेक दिन एक्साभेटर, जेसीवी र टिप्परको लाइन देखिन्थ्यो । ती सबै अवैध रूपमा प्राकृतिक स्रोतको दोहन गर्न आएका हुन् । कालोपत्रेको जिम्मा पाएको सिंह एण्ड ब्रदर्सका सञ्चालक विश्वास उप्रेतिले आफू खुसी पहाड दोहन गरेको स्थानीय मानबहादुर नेपालीले बताए ।
वन ऐन २०७६ तथा वन नियमावली २०७९ अनुसार ठेकेदारले कुनै प्रक्रिया नबढाई आफू खुशी पहाड दोहन गरेका हुन् । वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन अनुसार सम्बन्धित स्थानीय निकायले ठेक्का लगाएर मात्रै वन क्षेत्रभित्र वन कार्यालयसँग समन्वय गरीढुङ्गा, गिट्टी, निकासी गर्नुपर्ने कानुनी प्रावधान छ ।
तर मध्यपहाडी लोकमार्ग निमार्णको जिम्मा पाएका ठेकेदार कम्पनीले वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन बिनै पहाड नै दोहन गर्दै आएका हुन् । विकासका नाममा ठेकेदारले ढुङ्गा, गिट्टीको मेसिनको प्रयोग गरी पहाडनै दोहन गरेको स्थानीयको आरोप छ ।
ठेकेदारले रातदिन धमाधम एक्साभेटर, जेसिवी र टिप्परहरुले ढुङ्गा, गिट्टी, उत्खनन गरिरहेका छन् । भेरी नगरपालिका ९ को बर्मईखम्ब (खोटेसल्ली भिर) भन्ने स्थानमा पहाडनै दोहन गरेकाछन् । ठेकेदारले करिब १ सय मिटरको पहाडनै सखाप पारेको वडा अध्यक्ष हिरालाल शर्माले बताए ।
२०७४ फागुन २६ गते वडा कार्यालयमा स्थानीय बर्मइखम्बादेखि सरेखेल्ने डाँडासम्मको ७ सय मिटर बाटो बनाउने शर्तमा ठेकेदारले तत्कालीन वडाध्यक्ष धुर्वप्रसाद पौडेलसँग सहमति गरेका थिए । पहाड दोहन गर्ने स्थानीयलाई बाटो, युवाको लागि फिल्ड निर्माण र अन्यलाई माई भगवतीको मन्दिर निर्माण गर्ने शर्त गरेका थिए । तर हालसम्म ठेकेदारले पहाड दोहन गरेता पनि कुनै सर्त अनुसारको काम नगरेको वडा सदस्य मोति नेपालीले बताइन् ।
उक्त स्थानबाट ठेकेदारले आफुखुसी ३५ हजार टनभन्दा माथि सामान उठाउँदा करको कुनै दायरामा नआएको वडाध्यक्ष शर्माले बताए ।
‘हामीले उत्खनन् भइरहेको ठाउँमा पुगेर रोक्ने प्रयास गर्यौँ तर हाम्रो सुनुवाइ भएन,’ उनले भने, ‘पहिलेको वडा अध्यक्षसँग सम्झौता भएको भन्दै पहाडनै भत्काइएको छ । जथाभावी वन विनास गरेको छ ।’
अहिले पनि उक्त ठेकेदारले यसैगरी उत्खनन गरिरहेको शर्माले बताए । अवैध उत्खनन्ले गाउँबस्ती जोखिममा पर्नुका साथै खेतीयोग्य जमीनसमेत जोखिममा परेको अर्का स्थानीयवासीको भनाइ छ । जथाभावी मेसिन प्रयोग हुँदा वन विनास भएको र यसका कारण वर्षायाममा पहिरो गाउँमा पस्ने जोखिम बढेको उनको भनाइ छ । मध्यपहाडीको स्याउलीबाट कार्कीगाउँसम्मको १७ किलोमिटरसडक खण्ड हाल कालोपत्र जारी छ । कालोपत्रका लागि ठेकेदारले बर्मईखम्ब (खोटेसल्ली भिर)बाट निरन्तर उत्खनन् गर्दै आएका छन्
बर्मईखम्ब (खोटेसल्ली भिर) मात्र नभएर निर्माण कम्पनीले भेरी नगरपालिका–१३ कुदुबाट स्याउली बजारसम्म कालोपत्र गर्न एउटा पहाड दोहन गरेको छ । भेरी नगरपालिका १२ बाघखोरमा पहाडनै दोहन गरेको हो । गुराँस सामुदायिक वन समितिसँग मिलमतो गरी ठेकेदार उप्रेतीले एउटा पहाडनै धोजा–धोजा बनाएका छन् । वन समितिलाई खानेपानी मोटर उपलब्ध गराउने शर्तमा ठेकेदारले लाखौँको कर छलि गरेको पाइएको छ । २०७४ सालतिर एउटा मोटर दिन्छु भनेर ठेकेदारले सहमती गरेर पहाड दोहन गरेको स्थानीयको आरोप छ ।
वन क्षेत्रमा वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन विना समूहसँग सहकार्य गरी वन क्षेत्र दोहन गर्दासमेत वन कार्यालयले कुनै चासो नदेखाएको स्थानीयको आरोप छ । ‘अहिले एउटा सिंगो पहाडनै भत्काएर सडक निर्माण गरिएको छ । ठेकेदारले विकासका नाममा पहाड नै विनाश गरेका हुन्,’ उनले भने।
यता स्थानीयले भने पहाड दोहन नगर्न माग गरेका छन् । भेरी नगरपालिका ९ का स्थानीयले ढुंगा, गिट्टी, बालुवाका लागि पहाड क्षेत्रमा उत्खनन् नगर्न आग्रह गरेका हुन् । पहाडमा कमजोर भू–बनोटका कारण हुने भू–क्षयले वर्षेनी सयौँ बिगाहा खेतीयोग्य जमिन बगरमापरिणत हुने भएका कारण पहाड दोहन नगर्ने स्थानीयले माग गरेका छन् ।
पहाडी क्षेत्रको माटो अत्यन्तै कमजोर प्रकृतिको हुने भएकाले त्यसलाई चलाउँदाबग्ने भएका कारण पहाडको दोहन रोक्नुपर्ने भेरी नगरपालिका ९ बलबहादुर नेपालीले बताए । पहाडी क्षेत्रबाट गिट्टी बालुवा निकँस्दापहाड बगरमा परिणत हुने रगाउँ बस्ती र खेतीयोग्य जमिन नैमासिने उनको भनाइ छ ।
भेरी नगरपालिका जनप्रतिनिधिको संरक्षणमा प्राकृतिक स्रोतको दोहन भएको पाइएको छ । जनप्रतिनिधिले ऐन कानुनलाई ख्याल नगरी प्राकृतिक स्रोतको दोहन गरेका हुन् । ठेकेदारले दोहन गरिएको स्थानमा तत्कालीन भेरी नगरपालिका ९ का वडा अध्यक्ष धुर्वप्रसाद पौडेलको नेतृत्वमा २०७४ फागुन २६ गतेसहमति भएको थियो । कालोपत्रेको जिम्मा पाएको सिंह एण्ड ब्रदर्सका सञ्चालक विश्वाश उप्रेति र वडा अध्यक्षको संलग्नतामा बर्मईखम्ब (खोटेसल्ली भिर) दोहन गर्ने सहमति भएको स्थानीयले बताए ।
स्थानीयलाई पुजा गर्ने मन्दिर, युवाहरुको लागि खेल मैदान निर्माण गरिदिने सहमतिमा बर्मइखम्बादेखि सरेखेल्ने डाँडासम्मको ७ सय मिटर बाटोको नयाँ ट्रयाक खोल्ने सहमती भएको थियो । यसरी पहाडको प्रयोग गर्दा स्थानीय तहसँग करको दायरामा आएर उत्खनन् गर्नुपर्ने कानुनी प्रावधानलाई लत्याउँदै जनप्रतिनिधिले बदमासी गर्दासमेत नगरपालिका मुकदर्शक भएको देखिन्छ । आफ्नो पार्टी निकट वडा अध्यक्षले गरेको निर्णयविरुद्ध नगर प्रमुखले कुनै चासो नदेखाएको स्थानीयको आरोप छ ।
तर नगर प्रमुख चन्द्र प्रकाश घर्तीले भने तत्काल स्थलगत अनुगमन गरेर गल्ती देखिए कारबाही गर्ने बताएका छन् ।प्राकृतिक स्रोत दोहनको विषयमा तत्काल स्थलगत अनुगमन गर्ने उनको भनाइ छ । भेरी नगरपालिका–१३ कुदुबाट स्याउली बजार१७ किलोमिटर सडक र स्याउलीबाट कार्कीगाउँसम्मको १७ किलोमिटर सडक कालोपत्र स्रोत दोहन भएको उनले स्वीकार गरे । पहिलो कार्यकाल भएकोले खासै ज्ञान नभएकोले ठेकेदारले नियम संगत नपुराएर स्रोतको दोहन गरेको उनको भनाइ छ ।
यस्तै डिभिजन वन कार्यालयले पनि आफू खुशी वन अतिक्रमण गर्नेलाई कारबाही गर्ने जनाएको छ । प्रमाणका आधारमा कारबाही गर्ने वन अधिकृत राधाकृष्ण दासले बताए । वन ऐन २०७६ र वन नियमावली २०७९ मा भएको व्यवस्था अनुसार प्रक्रिया नपुराएको खण्डमा तत्काल आवश्यक कारबाही प्रक्रिया अगाडी बढाउने उनको भनाइ छ । |
दार्चुला हिमपहिरोमा परेका दुई जना अझै बेपत्ता, खोजी कार्य जारी दार्चुला । हिमपहिरोमा परेर बेपत्ता भएका दुई जना अझै फेला परेका छैनन ।
डोटीको जोरायल गाउँपालिका–२ बुडरकी २८ वर्षीया ईश्वरी थापा र १५ वर्षीया क्षिमी सोमो थापा अझै फेला नपरेका हुन ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहका अनुसार बेपत्ता भएका दुई जनाको खोजी कार्य अझै जारी राखिएको छ । बर्षा र हिमपातका कारण खोजी कार्यमा असहज भए पनि तालिम प्राप्त सुरक्षाकर्मीले हिमपात गएको क्षेत्रमा स्थानीयवासीसँगको सहकार्यमा खोजी कार्य जारी राखिएको छ ।
यता, ब्यास गाउँपालिका–१ भोलुङमा हिमपहिरोमा परी बेपत्ता भएका पाँच मध्ये तीनजनाको भने शव भेटिएको थियो । उनीहरु तीनै जनाको शव भारतीय सिमा हुदैँ तीन दिन पछि हिजो सदरमुकाम खलंगा ल्याईएको थियो ।
गत साता गएको हिमपहिरोमा परी निधन भएका दुहुँ गाउँपालिका–४ दार्चुलाकी ३८ वर्षीया कमला कुँवर र उनका १८ वर्षीय छोरा प्रविण कुँवर तथा जोरायल गाउँपालिका–२ बुडर, डोटीकी ४५ वर्षीया नक्नी डोमा थापाको शव भने परिवारजनलाई हस्तान्तरण गरिएको छ । |
मिटर ब्याज पीडित एक महिनादेखि धर्नामा काठमाडौं। मिटर ब्याज पीडित एक महिना देखी धर्नामा बसेका छन्। गत चैत २९ देखि काठमाडौं रत्नपार्कस्थित खुल्ला स्थानमा धर्नामा बसेका मिटरब्याज पीडितलाई भने सरकारले अझै सम्बोधन गर्न सकेको छैन।
पटक पटक बार्ता भए पनि मिटर ब्याज पीडितले धर्नालाई भने जारी राखेका छन्। सरकारले मिटरब्याजी पीडितको पक्षमा छानविन गर्न जाँचबुझ आयोग समेत बनाएको भए पनि आयोग बनाएर मात्रै न्याय नहुने भन्दै तत्काल कारबाही प्रक्रिया अघि बढाउनु पर्ने माग राख्दै मिटरब्याज पीडितले धर्ना जारी राखेका हुन्।
जाली तमसुक च्यात्नु पर्ने तथा पिडकलाई तत्कालै कारबाही गर्नुपर्नेलगायतका माग राखेर उनीहरुले धर्नालाई निरन्तरता दिएका हुन्। सरकारले हालै अध्यादेशमार्फत मिटर ब्याँजमा संलग्नहरुलाई ७ बर्षसम्म जेल सजाय दिने निर्णय भने लिइसकेको छ।
मिटर ब्याँज पीडितहरुले आफुहरुलाई सरकारले वेवास्ता गरेको गुनासो नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईसमक्ष राखे पछि उनले सो बिषयलाई राजनीतिक रुपमा सम्बोधन गनुपर्ने जनाएका थिए। |
दोधारा चाँदनी सुक्खा बन्दरगाहः नेपाली सीमासम्म भारतले खोल्यो पहुँचमार्ग बेदकोट। भारतीय पक्षले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ गडिगोठसम्म सुक्खा बन्दरगाहका लागि पहुँचमार्गको ट्रयाक खोलेको छ । दोधारा चाँदनीमा निर्माण हुने सुक्खा बन्दरगाहका लागि भारततर्फ रुख कटान गरेर नेपाली सीमासम्म पहुँचमार्ग ट्रयाक खोलिएको हो ।
भारतीय पक्षले सीमावर्ती बजार चक्करपुरस्थित राष्ट्रिय राजमार्गदेखि नेपाल–भारत सीमासम्मै पहुँचमार्गको ट्रयाक खोलेको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर लिम्बूले जानकारी दिए ।
“भारतीय पक्षले आफ्नो क्षेत्रमा पर्ने वन फडानी गरेर पहुँचमार्गको ट्रयाक खोलेको छ”, उहाँले भन्नुभयो, “पारितर्फ नेपाली सीमासम्म जोड्ने सडकको ट्रयाक खोल्ने काम सकिएको हो ।” उत्तराखण्डको चम्पावत जिल्लामा पर्ने चकरपुरदेखि नेपाली भूमि गडिगोठसम्म करिब चार किलोमिटर दुरीको चार लेनको पहुँचमार्गको ट्रयाक खोलिएको छ ।
पहुँचमार्ग निर्माणका लागि गत कात्तिकमा दुई अर्ब रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार डेढ वर्षभित्र पहुँचमार्ग निर्माणको काम गरिसक्नुपर्छ । पहुँचमार्ग क्षेत्रमा पर्ने भारतीय वनका करिब दुई हजारभन्दा बढी रूख काटेर ट्रयाक खोलिएको हो ।
ट्रयाक खोलिएसँगै अब पहुँचमार्ग कालोपत्रेको काम अगाडि बढ्ने छ । यो मार्गले नेपाल–भारतलाई व्यापारिकसँगै यातायात सेवालाई पनि जोड्ने छ । दोधारा चाँदनी नगरपालिका–१ मा सुक्खा बन्दरगाह निर्माण गर्ने तयारी छ । दुई दशकअघिदेखि चर्चामा रहेको सुक्खा बन्दरगाह निर्माणस्थलको गत फागुन १ गते प्रधानमन्त्री पुष्पकमल दाहालले निरीक्षण गरेका थिए।
तीन वर्षमा सुक्खा बन्दरगाह निर्माण गर्नेगरी भारतसँग सम्झौता गर्ने उनले प्रतिबद्धता जनाएका थिए । सुक्खा बन्दरगाहदेखि एकीकृत जाँच चौकीसम्मका सबै संरचना निर्माण गर्नका लागि भारत सहमत भएको इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए ।
“संरचना भारतले बनाउने समझदारी भइसकेको छ, अहिले इआइए गर्ने काम अन्तिम चरणमा छ”, उनले भने, “फाइल वन मन्त्रालय पुगेको छ, स्कीकृतिको प्रक्रियामा छ ।” उनका अनुसार प्रधानमन्त्री दाहालको आसन्न भारत भ्रमणको क्रममा सुक्खा बन्दरगाहको एओयु गर्ने गृहकार्य भइरहेको छ ।
आयोजना निर्माण गर्न मायापुरी र गौरीशङ्कर सामुदायिक वनको करिब दुई सय ८० बिघा जमिन प्रयोग हुनेछ । यसअघि दोधारा चाँदनी–७ कञ्चनभोजमा सुक्खा बन्दरगाहका लागि अध्ययन तथा सर्भे भएको थियो । उक्त क्षेत्रमा स्थानीयको विरोध र भारतसँगको पहुँचमार्गमा समस्या हुने भएपछि सुक्खा बन्दरगाह निर्माणस्थल दोधारा चाँदनी–१ लाई प्रस्ताव गरिएको थियो ।
सुक्खा बन्दरगाहकै लागि महाकाली नदीमाथि चार लेनको पक्की पुल निर्माण भएको छ । पूर्वपश्चिम राजमार्गको अन्तिम बिन्दु गड्डाचौकीदेखि दोधारा चाँदनी–१ को मलेरिया नालासम्मको आठ किलोमिटर पहुँच मार्ग निर्माणको काम पनि लगभग अन्तिम चरणमा रहेको छ ।
दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण भए सुदूरपश्चिम क्षेत्र व्यापारिकरूपमा भारतसँग जोडिनेछ । यसका साथै भारतको राजधानी नयाँदिल्ली र औद्योगिक नगरी रुद्रपुरसम्म पनि सहज पहुँच हुने र यस क्षेत्रको व्यापार व्यवसायमा वृद्धि हुनेमा स्थानीयको विश्वास छ । |
श्रम स्वीकृति लागू गर्दै काभ्रेका स्थानीय तह काभ्रेपलाञ्चोक । सरकारको वैदेशिक रोजगारमा जान चाहने नागरिकले सम्बन्धित स्थानीय तहबाटै श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति लिनुपर्ने प्रावधानलाई काभ्रेपलाञ्चोकको स्थानीय तहले धमाधम लागू गर्दैछन् । तेह्र स्थानीय तह रहेको यस जिल्लामा वैशाख तेस्रो हप्तासम्म पाँच तहले ‘श्रम स्वीकृति’ लागू गरेका छन् ।
गत चैत १६ गते नेपाल सरकार (प्रधानमन्त्री तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय)को मन्त्रिस्तरीयबाट वैदेशिक रोजगारमा जान चाहने नागरिकले यही वैशाख १ गतेदेखि सम्बन्धित स्थानीय तहबाटै श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति लिनुपर्ने निर्णय गरिएको थियो । दुई नगर र तीन गाउँपालिकाले वैदेशिक रोजगारमा जान चाहने आफ्ना नागरिकलाई श्रम स्वीकृति लिन सार्वजनिक अपिलसमेत गरेका छन् ।
वैदेशिक रोजगार ऐन, २०६४ तथा वैदेशिक रोजगार नियमावली, २०६४ मा भएको व्यवस्थाअनुसार वैदेशिक रोजगारमा जान चाहने हरेक नागरिकले अनिवार्य श्रम स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको हो । नमोबुद्ध नगरपालिकाले वैशाख २ गते, तेमाल गाउँपालिकाले वैशाख ६ गते, महाभारतले वैशाख ११ गते, चौँरीदेउरालीले वैशाख १२ र बनेपा नगरले वैशाख १७ गतेदेखि व्यक्तिगत श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति दिने जनाएका हुन् ।
वैदेशिक रोजगारमा जान चाहने स्थानीय नागरिकले स्थानीय तहको रोजगार सेवा केन्द्रबाट आवेदन गरी श्रम स्वीकृति लिन सकिने जनाइएको छ । सरकारी व्यवस्थाअनुसार वैदेशिक रोजगारलाई थप व्यवस्थित, सुरक्षित, मर्यादित, भरपर्दो र सहज बनाउन वैदेशिक रोजगारमा जान चाहने नगरका नागरिकले स्वीकृति लिन सक्नेछन् । सरकारले स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रलाई वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस)मा जोडेर विदेश जानका लागि अनलाइन आवेदन भर्न नसक्नेका लागि निःशुल्करूपमा आवेदन भरिदिने व्यवस्थासमेत गरेको छ ।
बनेपा नगरले भने वैदेशिक रोजगारीमा जाने हरेक नेपाली नागरिकले अनिवार्यरूपमा श्रम स्वीकृति लिनुपर्ने व्यवस्थाअनुसार अनलाइनबाट श्रम स्वीकृति दिने भएको छ । वैदेशिक रोजगार विभागको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमार्फत अनलाइन आवेदन दिने व्यवस्था गरेअनुसार नगरले वैशाख १७ गतेदेखि उक्त व्यवस्था सुरु गरेको नगरप्रमुख शान्तिरत्न शाक्यले बताए । अनलाइन आवेदन गरी श्रमिकले श्रम स्वीकृति प्राप्त गर्न सक्ने व्यवस्था भए पनि अधिकांश नेपाली श्रमिकले अनलाइन आवेदन अन्य अनधिकृत व्यक्ति वा सेवाप्रदायक संस्थामार्फत गर्दा श्रमिकको सम्पूर्ण विवरण प्रविष्ट नहुने, सोवापत धेरै रकम तिर्न बाध्य हुनुपर्ने र विभिन्न बहाना बनाई श्रमिकलाई दुःख हैरानी दिने कार्य हुँदै आएको थियो ।
सोही अवस्थालाई मध्यनजर गर्दै वैदेशिक रोजगारीलाई थप व्यवस्थित, मर्यादित एवं भरपर्दो बनाई स्थानीय तहसम्म पहुँच अभिवृद्धि गर्न वैदेशिक रोजगारीमा जाने श्रमिक तथा कामदारको व्यक्तिगत तथा पुनः श्रम स्वीकृतिको अनलाइन आवेदन कार्य एवं वैदेशिक रोजगारसम्बन्धी सूचना प्रवाह गर्ने कार्यमा सात सय ५३ स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रलाई जिम्मेवारी तोकी नयाँ वर्षको प्रारम्भदेखि कार्यान्वयन गर्ने परिपत्र गरिएको थियो । |
स्वच्छ र सुन्दर वीरगञ्ज बनाउने अभियान : फोहर पाल्नेलाई कारबाही पोखरीया । सफा, स्वच्छ र सुन्दर वीरगञ्ज महानगर बनाउने अभियानका साथ सरसफाइलाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेको महानगरले जथाभावी फोहर फालेर दुर्गन्ध फैलाउनेलाई कारबाहीको क्रम जारी राखेको छ ।
वीरगञ्ज महानगरपालिकाले आज जथाभावी फोहर फाल्ने एक जनालाई कारबाही गरी रु ५० हजार जरिवाना तिराएको छ । वीरगञ्जको बाइपास सडकखण्डअन्तर्गत नगवाको वैष्णवी मन्दिर नजिकै राङ्गा, भैँसीको सडेको हड्डी फालेर दुर्गन्ध फैलाउने शिवपुजन चौरसियालाई महानगरको टोलीले नियन्त्रणमा लिएर रु ५० हजार जरिवाना गरेको हो ।
वीरगञ्ज सहरलाई सफा र स्वच्छ राख्न सरसफाइ र सौन्दर्यकरण अभियानअन्तर्गत महानगरपालिकाले जथाभावी फोहर फाल्नेलाई नगद रु एक हजारदेखि ५१ हजारसम्म जरिवाना तिराउँदै आएको महानगरका मेयर राजेशमान सिंहले जनाएका छन् । महानगरले यसअघि वीरगञ्जकै सीता अस्पताललाई सडकमा जथाभावी माटो खसाएर फोहर गरेको भन्दै रु ५१ हजार जरिवाना गरेको थियो ।
वीरगञ्ज सहरको सरसफाइ र सौन्दर्यकरण अभियान चलाएको महानगरपालिकाले चार महिनाको अवधिमा शुक्रबारसम्म तीन सय ९० जनालाई कारबाही गरी जरिवानावापत नौ लाख ६१ हजार पाँच सय रकम असुल गरेको महानगरको फोहरमैला व्यवस्थापन शाखाका प्रमुख सरफुदिन मियाँले जानकारी दिए । |
कर्णाली करिडोरसँग जोडिएपछि खत्याडवासीको मुहारमा खुसी मुगु। मुगुको खत्याड गाउँपालिका कर्णाली करिडोरसँग जोडिएपछि खत्याडवासी उत्साहित भएका छन् । सुकाढिक झुगलास्थित हुम्ला कर्णाली नदी बेलिब्रिज(पुल) निर्माण भएर कर्णाली करिडोरमा गुड्ने गाडी अब खत्याड गाउँपालिकातिर चल्ने भएपछि खत्याडवासीको मुहारमा खुसी छाएको हो ।
कर्णाली नदीमा बेलिब्रिज पुल बनेपछि गाडी गाउँमै पुग्ने भएपछि खुसी छाएको सुकाढिक गाउँका ७४ वर्षीय धनलाल कार्कीले बताए । “अब सहरको मालसामान गाउँमै पुग्ने भयो”, उनले भने, “हामीलाई सुर्खेत, नेपालगञ्ज आउजाउ गर्न पनि सहज भयो ।”
कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री तथा कालिकोटका सांसद महेन्द्रबहादुर शाहीले सो पुलको उद्घाटन गरे । उनले पुल सञ्चालनमा आएसँगै स्थानीय उत्पादनले बजार पाउने र स्थानीयको जीवनस्तरमा सुधार हुने आशा रहेको बताए।
सुकाढिक झुगलमा निर्माण भएको बेलिब्रिजले पर्यटकलाई रारा भ्रमण गर्न सहज हुनेछ । हिमपात र वर्षातमा पनि उक्त सडक सञ्चालन हुने भएकाले बाह्रै मास पर्यटकलाई रारा घुम्न आउने सुविधा भएको छ । बेलिब्रिजले समग्र मुगुवासीको समृद्धिको ढोका खोलेको सांसद ऐनबहादुर शाहीको भनाइ छ ।
सुकाढिक झुगला बेलिब्रिजदेखि खत्याड बाउ पानीसम्मको करिब २९ किलोमिटर सडक सुधार गर्न र खोलामा पुल निर्माण गर्न गाउँपालिकाले विशेष ध्यान दिनुपर्ने कर्णाली प्रदेशका भौतिक पूर्वाधारमन्त्री मङ्गलबहादुर शाहीले बताए ।
उनले भने, “गमगढी खत्याड सडक जोडिने कार्यलाई पहिलो प्राथमिकता राखिएको छ ।” ६० मिटर लम्बाइको उक्त बेलिब्रिज निर्माणका लागि खत्याड गाउँपालिकाले रु तीन करोड ५९ लाख ९८ हजार बजेट छुट्याएको थियो । |
अपहरण परेका बालकको भारतबाट सकुशल उद्धार सुनसरी । सुनसरीको दुहबीबाट अपहरणमा परेका एक बालकको सकुशल उद्धार गरिएको छ । सुनसरीको दुहबी नगरपालिका–१२ बुगडरीमा गाई फार्म सञ्चालन गरेका बिन्देश्वर यादवको ११ वर्षे छोरा अपहरणमा परेका थिए । उनको भारतबाट नेपाल प्रहरीले सशकुशल उद्धार गरेको हो ।
भारतीय समूहबाट अपहरणमा परेका बालकलाई भारतको समस्तिपुर एकडेरा एरियाबाट सकुशल उद्धार गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
उनलाई इलाका प्रहरी कार्यालय दुहवी, जिल्ला प्रहरी कार्यालय सुनसरी र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको संयुक्त गस्ती टोलीले उद्धार गरेको हो । तर, अपहरण गर्ने व्यक्ति भने पक्राउ परेका छैनन् । अपहरणकारीको पहिचान भइसकेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
भारतीय बीआर ०९ आर ०७९६ नम्बरको स्कारपिओ गाडीमा आएका पाँच जनाको समूहले गत आइतबार बालकको अहपरण गरेका र भोलिपल्ट भारतीय फोन नम्बरबाट वाट्सअपमार्फत २५ लाख भारतीय रुपैयाँ फिरौती माग गरिएको थियो । |
आज विरल छायाँजनित चन्द्रग्रहण काठमाडाैं। वैशाख शुक्ल पूर्णिमाका दिन आज बेलुकी विरल छायाँजनित (पेनम्ब्रल) चन्द्रग्रहण लाग्ने भएको छ।
नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो)का अनुसार विरल छायाँजनित (पेनम्ब्रल) चन्द्रग्रहण राति ८:५९ बजे सुरू भई ११:०७ बजे मध्य हुन्छ। राति १:१६ बजे ग्रहण सकिने जनाइएको छ।
यो चन्द्रग्रहण खग्रास वा खण्डग्रास नभएर विरल छायाँजनित अर्थात् पेनम्ब्रल चन्द्रग्रहण भएको नासोका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए।
वैज्ञानिक मान्यतामा यो ग्रहणको अस्तित्व देखिए पनि शास्त्रीय मान्यतामा नदेखिने हुँदा त्यससम्बन्धी धार्मिक एवं सांस्कृतिक मान्यता लागू नहुने उनले बताए।
मौसमले साथ दिए आज राति विज्ञान, प्रविधि तथा नवप्रवर्तनमा रूची राख्नले चन्द्रमाको तस्बिर तथा भिडिओ खिचेर परापूर्वकालमा ज्योतिषशास्त्रको विकास हुँदा यो ग्रहणलाई किन गणना गरिएन भनी अध्ययन गर्न सक्ने सोसाइटीले जनाएको छ। यो ग्रहण नाङ्गो आँखाले ठम्याउन निकै कठिन हुन्छ।
के हो विरल छायाँजनित (पेनम्ब्रल) चन्द्रग्रहण?
सूर्य र चन्द्रमाको बीचमा पृथ्वी आउँदा एउटै सरल रेखामा परेको खण्डमा चन्द्रग्रहण लाग्ने गर्छ। चन्द्रग्रहण भनेको पृथ्वीको छायाँ चन्द्रमामा पर्नु हो। यस्तो छायाँ दुई प्रकारका हुन्छन्। सघन छायाँ र विरल छायाँ।
चन्द्रमा पृथ्वीको सघन छायाँमा परे खग्रास वा खण्डग्रास चन्द्रग्रहण हुन्छ। विरल छायाँमा पर्दा विरल छायाँजनित अर्थात् पेनम्ब्रल चन्द्रग्रहण हुन्छ।
यो ग्रहण नाङ्गो आँखाले खासै छुट्याउन नसक्ने हुनाले प्रचलनमा रहेको पञ्चाङ्ग तथा भित्तेपात्रोमा यसको चर्चा नगरिएको नासोले जनाएको छ। यो ग्रहणको बेला तस्बिर खिचेर केही वैज्ञानिक परीक्षण गर्न सकिने हुनाले वैज्ञानिक समुदायका लागि भने यसको ठूलो महत्व हुन्छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेल विरल छायाँजनित ग्रहण लाग्नुभन्दाअघिको अवस्था भएको बताउँछन्। विरल छायाँजनित भनेको ग्रहण नै लागेको अवस्था नभएकाले शास्त्रीय रूपमा यसको दोष नलाग्ने जानकारी पनि उनले दिए। रासस |
चुँगा गाउँ दलित बस्तीका नागरिक ४७ वर्षदेखि ‘नजरबन्द’मा सुर्खेत। मुगुको छायाँनाथ रारा नगरपालिका-८ चुुगाँ गाउँका दलित समुदाय जो ४७ बर्ष देखि नजरबन्द जस्तै जिवनयार्पन गदै आएका छन् । रारा राष्ट्रिय निकुुञ्जभित्र रहेको यस गाउँका स्थानीय निकुञ्जको नीति नियम कानुनका कारण उनीहरू नजरबन्द जस्तै जीवनयापन गदै आएका हुन् ।
रारा राष्ट्रिय निकुुञ्ज स्थापाना काल अघिदेखि बसोबास गदै आएका चुुगाँ गाउँका ३० घरदुरीका दलित समुदाय निकुुञ्जको नीति नियम ,कानुनले हैरान भएको बताउँछन् । रारा राष्ट्रिय निकुुञ्जको स्थापाना २०३२ सालमा भएको हो । निकुुञ्ज स्थापनापछि रारा राष्ट्रिय निकुुञ्जभित्र रहेका छाप्रु र रारा दुई गाउँका स्थानीयलाई नेपाल सरकारले बाँकेको लिचिसापानी स्थानान्तरण गरेको थियो ।
तर, चुुगाँ गाउँ दलित बस्ती भएकै कारण निकुञ्जभित्र रहेको चुगाँ गाउँका दलित बस्तीलाई सरकारले पनि वास्ता गरेन आफुहरू ४७ वर्षदेखि निकुुञ्जको नीतिनियमले जंगली जनावरसरह बाँच्नुपरेको ८० वर्षीय बुद्ध जयराम विकले बताए । उनका अनुुसार निकुञ्जभित्रको बसाईं कष्टपूर्ण भएको र राज्यको सेवा सुविधाबाट बञ्चित हुनु परेकोले बस्ती स्थानान्तरणका लागि जिल्लाका नेतादेखि रारा राष्ट्रिय निकुञ्जसम्म जानकारी गराउँदा पनि सुनुवाइ भएन ।
स्थानीय युवा रतन विकका अनुसार बस्ती निकुञ्जको कोर एरियाभित्र पर्ने भएकाले राज्यबाट आउने सेवासुविधा निकुञ्जकै कारण रोकिने गरेकाे छ । गाउँमा कुनै पनि विकास योजना आउँदा आफू खुसी सञ्चालन गर्न पाइँदैन, निकुुञ्जसँग अनुमति माग्न जाँदा निकुञ्जले दिन मान्दैन, निकुञ्जको नीति नियमभन्दा बाहिर जान मिल्दैन भन्दै अनुमति नदिँदा गाउँमा आएका विकासका योजना निर्माण गर्न सकस भएको उनले बताए ।
गाउँमा स्वास्थ्य चौकी छैन, गर्भवती महिला लगायत अन्य बिरामीलाई अस्पताल लैजान आधा घण्टासम्म डोकोमा बोकेर रोडसम्म लानुपर्ने बाध्यता छ । गाउँमा खानेपानी, शिक्षा ,स्वास्थ्य सबैको समस्याका बाबजुद जीवनयापन गर्न बाध्य भएका स्थानीय बताउँछन् ।
यसैबीच, रारा राष्ट्रिय निकुुञ् भित्र रहेको चुँगा गाउँ दलित बस्तीमा जंगली जनावरको सास्ती पनि उत्तिकै छ । चुँगा गाउँका स्थानीयको निकुुञ्जभित्रै नापी भएको जग्गा छ । आफ्नो जग्गामा खेतीपाती गरेको सबै जंगली जनावरले सखाप पार्ने गरेको स्थानीय ६० वर्षीया लालधरा विकले बताइन् । उनका अनुसार वर्षभरी खेतीपाती गरेर उब्जाएको अन्न बाँदर, बँदेल चरा चुरुङ्गी लगायतले सखाप पार्ने गरेको छ । ‘यो गाउँमा हरेक समस्या छ, नजरबन्द सहर बाँच्नुु परेको छ । केही विकल्प छैन,’ उनले भनिन्, ‘चरिचरन घाँस दाउराको पनि उत्तिकै समस्या छ । घर बनाउन पुुर्जी भनेअनुसार पाइँदैन ।’
घाँस दाउरा गर्न जंगल जाँदा निकुुञ्जका कर्मचारीले दुःख दिने गरेका स्थानीय प्रेम बहादुर कामीले बताए । छायाँनाथ रारा नगरपालिका–८ का वडा अध्यक्ष कर्णबहादुर रावलले चुुँगा गाउँ दलित बस्तीले निकुञ्ज प्रशासन, जंगली जनावरको बर्सेनि सास्ती खेप्नुु परेको बताए ।
उनका अनुसार बस्ती स्थानान्तरणका लागि पटक पटक कुरा उठे पनि कार्यान्वयन भएको छैन । रारा राष्ट्रिय निकुुञ्जको नीति नियम र कानुन, जंगली जनावरको कारणले चुँगा गाउँका नागरिक आजित भएका र बस्ती स्थानान्तरणको लागि वडास्तरबाट सम्बन्धित् निकायमा पहल गर्ने निर्णय गरेको अध्यक्ष रावलले बताएका छन् ।
यता रारा राष्ट्रिय निकुुञ्जका वन संरक्षण अधिकृत विश्वबाबुु श्रेष्ठका अनुसार जनावर बस्ने स्थानमा मानव बस्ती बस्दा पक्कै पनि केही समस्या हुने गरेको बताएका छन् ।
‘रारा राष्ट्रिय निकुुञ्ज विशेष गरी जंगली जनावरको बास स्थान अर्थात् घर हो । जनावरको बासस्थानमा मानवबस्तीले अतिक्रमण गरेर बस्नुु उचित हुदैन,’ उनले भने, ‘समुदायको तर्फबाट हेर्दा निकुुञ्ज भित्रको बसाईले मानवलाई समस्या भयो भन्ने होला । तर, निकुुञ्जको तर्फबाट हेर्ने हो भने निकुञ्जभित्रको मानवबस्तीका कारण जंगली जनावरलाई अन्याय भएको जस्तो देखिन्छ । बस्ती स्थानान्तरणको लागि कुरा आएको भन्ने आफुले सुुनेको छु ।’
निकुञ्ज भित्र रहेका रारा छाप्रका बस्तीलाई स्थानान्तरण गरेर बाँकेको चिसापानी, गाभारमा जसरी सारिएको छ, त्यसरी नै चुुँगा गाउँको बस्तीलाई सार्दा उपयुक्त हुने र यसको लागी सबैले सहयोग गर्नु पर्ने संरक्षण अधिकृत श्रेष्ठको भनाइ छ । |
बुद्धजयन्तीमा लुम्बिनीमा विशेष समारोह, प्रधानमन्त्रीले सम्बोधन गर्दै रुपन्देही। २५६७ औँ बुद्धजयन्ती तथा लुम्बिनी दिवस आज धुमधामका साथ मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाको दिनलाई गौतमबुद्धको जन्मजयन्तीका रुपमा मनाउने गरिन्छ ।
बुद्धजयन्ती तथा लुम्बिनी दिवसका अवसरमा लुम्बिनीमा विशेष समारोहको आयोजना गरिएको छ । समारोहलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम छ । बुद्धजयन्ती मूल समारोह सुरु हुनुअघि लुम्बिनीको ५ नं गेटदेखि अन्तर्राष्ट्रिय सभाहलसम्म झाँकीसहितको शोभायात्रा निकाल्ने तयारी छ । शोभायात्रा सभाहलसम्म पुगेपछि मूल समारोह सुरु हुने लुम्बिनी विकास कोषका सदस्य सचिव शाक्यले जानकारी दिए।
बुद्ध जयन्तीलाई भव्य बनाउन लुम्बिनी विकास कोषले गठन गरेका मूल व्यवस्थान समिति र विभिन्न उपसमिति सक्रिय छन् । गौतमबुद्धको जन्म भएको, बुद्धत्व प्राप्त गरेको र महापरिनिर्वाण प्राप्त गरेको दिनलाई त्रिसंयोग दिवसका रुपमा समेत मनाउने गरिन्छ । इसापूर्व ६२३ वैशाख शुक्ल पूर्णिमाका दिन रुपन्देहीको लुम्बिनीमा गौतमबुद्धको जन्म भएको थियो । पहिलो सन्तानको माइतीमा जन्म दिने तत्कालीन परम्पराअनुसार मायादेवी आफ्नो माइती देवदह जान लागेका बेला लुम्बिनी उद्यानमा गौतमबुद्धको जन्म भएको थियो ।
राजा शुद्धोधनको दरबारमा राजकुमार भएर रहेका सिद्धार्थले मानिसले पाएको दुःख देखेर त्यसबाट मानव जातिलाई छुट्कारा दिने उद्देश्यले २९ वर्षको उमेरमा दरबारको सुख छोडी तपस्या गर्न निस्किनुभएको थियो । वैशाख शुक्ल पूर्णिमाकै दिन उहाँले बुद्धगयास्थित बोधिवृक्ष (पीपलको रुख) मुनि बुद्धत्व प्राप्त गर्नुभएको थियो । वैशाख शुक्ल पुर्णिमाकै दिन उनको महापरिनिर्वाण भएको थियो । त्यसै वर्षदेखि बुद्ध जयन्ती मनाउन थालिएको हो ।
बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् । सारनाथमा चार आर्य सत्यका विषयमा बुद्धले पहिलो प्रवचन दिएका थिए। जसमा संसार दुःखै दुःखले व्याप्त छ, दुःखको कारण छ, दुःखको अन्त्य हुनसक्छ र दुःखको अन्त्यका उपाय वा मार्ग पनि छन् भन्ने विषय रहेका थिए ।
बुद्धले आर्य अष्टाङ्गिक मार्ग र पञ्चशीलको उपदेश पनि दिनुभएको छ । बुद्ध दर्शनअनुसार मध्यम मार्ग भनेकै आर्यअष्टाङ्गिक मार्ग हो र यो मार्ग नै दुःख मुक्तिको उपयुक्त मार्ग हो । यसमा सम्मिलित आठ मार्गको इमान्दारीपूर्ण अभ्यासबाट नै दुःखलाई अन्त्य गरी निर्वाण प्राप्त गर्न सकिने बौद्ध ग्रन्थमा उल्लेख छ । आर्य अष्टाङ्गिक मार्गमा सम्यक् दृष्टि, सम्यक् सङ्कल्प, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् जीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति, सम्यक् समाधि पर्दछन् ।
यसैगरी पञ्चशीलमा चोरी नगर्नु, झुटो नबोल्नु, यौन व्यभिचार नगर्नु, मद्यपान नगर्नु र हिंसा नगर्नु रहेका छन् । मानव समुदायका लागि आवश्यक यी उपदेश दिएकैले बुद्धलाई एसियाका तारा उपाधिले पनि सम्मान प्रकट गरिन्छ । हिन्दूदर्शनले बुद्धलाई विष्णु भगवानको नवौँ अवतार मान्दछ । यसैकारण वैशाख शुक्ल पूर्णिमामा हिन्दू र बौद्ध दुवै धर्मावलम्बीले बुद्धलाई पूजा गरी बुद्ध जयन्ती मनाउँछन् । |
सुन्दरबजारको नमूना अस्पतालमा निःशुल्क सुरक्षित प्रसुति सेवा शुरु लमजुङ। लमजुङ क्लब सुन्दरबजारमा सञ्चालित एचडिसिएस नमूना सामुदायिक अस्पतालमा प्रसुति सेवा निःशुल्क उपलब्ध हुने भएको छ। सुन्दरबजार नगरपालिकाको स्वास्थ्य शाखाले आवश्यक अनुगमन गरी आमा सुरक्षा कार्यक्रम सञ्चालन गर्न बिहिबारबाट स्वीकृत दिएको हो।
यसअघि सुन्दरबजार नगरपालिका अन्तर्गत तीनवटा स्वास्थ्य संस्थामा प्रसुति सेवा उपलब्ध भए पनि प्रभावकारी रुपमा सञ्चालन हुन सकेको थिएन। यसअघि चन्द्रेश्वर प्राथमिक स्वास्थ्य केन्द्र, कुन्छा स्वास्थ्य चौकी र सुन्दरबजार अस्पतालमा प्रसुति सेवा उपलब्ध भएपनि यी संस्थाहरुमा सुत्केरी गराउनेको संख्या अत्यन्तै न्यून रहेको थियो। एचडिसिएस नमूना सामूदायिक अस्पतालमा स्त्री तथा प्रसुति रोग विशेषज्ञ सेवा समेत उपलब्ध भएका कारण उक्त संस्थामा अन्य संस्थाहरुले समेत रिफर गर्न सक्ने नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख परमेश्वर पियाले बताए।
स्वास्थ्य शाखाले नगरपालिका अन्तर्गत रहेका सम्पूर्ण स्वास्थ्य संस्थाहरुले सुरक्षित प्रसुति सेवाको लागि एचडिसिएस नमूना सामुदायिक अस्पतालमा रिफर गर्न सक्ने जनाएको छ।
नमूना सामुदायिक अस्पतालका निर्देशक हेमन्त श्रेष्ठका अनुसार अस्पतालमा छुट्टै प्रसुति विभाग र गाईनोलोजिष्ट सेवा समेत उपलब्ध छ। वेसीशहरमा सुरक्षित प्रसुति सेवालाई प्रभावकारी रुपमा सञ्चालन गरेको एचडिसिएसले नमूना सामुदायिक अस्पतालमा समेत प्रसुति वार्ड व्यवस्थापन गरिसकेको छ। अस्पतालमा उपलब्ध सेवा सुविधा, वार्ड लगायतको अनुगमनपछि स्वास्थ्य शाखाले आमा सुरक्षा कार्यक्रम सञ्चालन गर्न स्वीकृत प्रदान गरेको हो।
अव नमूना सामूदायिक अस्पतालबाट गर्भवती महिलाहरुले निःशुल्क परामर्श, स्वास्थ्य चेकजाँच, गर्भवती परीक्षण, प्रसुति सेवा लगायतका सेवा उपलब्ध हुनेछन् ।
एचडिसिएस नमूना सामुदायिक अस्पतालमा निःशुल्क प्रसुति गराउने महिलाहरुले सरकारको आमा सुरक्षा कार्यक्रम अन्तर्गत पाउने २ हजार रुपैयाँ, न्यानो झोला, गर्भावस्थामा नियमित परीक्षण गराउनेलाई थप ८ सय रुपैयाँ उपलब्ध हुनेछ। एचडिसिएसले कार्यक्रमको प्रभावकारीता हेरेर पछिल्ला दिनमा थप सुविधा पनि दिन सक्ने अस्पतालले जनाएको छ।
|
किराँत समुदायले आज उभौली पर्व मनाउँदै काठमाडाैं। प्रकृतिको पुजारी किराँत समुदायले बैशाख पुर्णिमाका दिनमा पर्ने उभौली पर्व धुमधामसहित मनाउँदै छन्। मुख्यत अन्न बाली सप्रियोस्, खेतबारीमा राम्रो बालीनाली लागोस्, पृथ्वीमा कहीँ कतै खाद्यान्नको कमी नहोस् भन्दै किराँत समुदायले यस उभौली पर्व मनाउँने गरिन्छ।
किराँत समुदायले मुख्यत: दुई पर्व उभौली र उधौली मनाउँछन्। वैशाख पूर्णिमामा उभौली र मङ्सिर पूर्णिमामा उधौली मनाइन्छ। उभौलीलाई बालीनाली लगाउने र उधौलीलाई थन्क्याउने अवसरका रूपमा उनीहरुले मान्दै आएका छन्। वैशाख शुक्ल पूर्णिमादेखि सुरु भएको यो पर्व लगातार एक महिनासम्म मनाइन्छ।
यस दिन चण्डी नाचिन्छ, जसकाकारण यसलाई बोलिचालीको भाषामा आज चण्डी पूर्णिमा पनि भनिन्छ। आजको दिनमा सुम्निमा अर्थात् देवी पार्वतीको सृष्टि भएको दिनको रुपमा किराँतहरुले यस दिनलाई सम्झने गरेका छन्। |
बागमती करिडोरका विभिन्न सडकमा मर्मत हुँदै काठमाडौँ । राजधानी काठमाडौँका मुख्य सडकको जाम कम गर्न निर्माण गरिएको बागमती करिडोरका विभिन्न स्थानमा सडकको मर्मत अघि बढाइएको छ ।
करिडोरका कतिपय खण्डमा ट्र्याक खोल्न नै बाँकी हुँदा कतिपय खण्डमा पहिले बनिसकेका सडक भत्कन थालेकाले मर्मत अघि बढाइएको हो । चालु आर्थिक वर्षमा बागमती करिडोरमा झण्डै आठ किलोमिटर सडकमा कालोपत्र थप्ने काम (ओभर ले) गरिएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका सूचना अधिकारी एवं इञ्जिनियर कमल अर्यालले बताए ।
ललितपुरतर्फ बल्खु पुलबाट कालोपुलसम्म सडकमा ‘ओभर ले’ भइरहेको छ । मनोहरा दोभानबाट तीनकुनेको पुलसम्म, गोठाटार पुलबाट गोकर्णसम्म र जोरपाटीको पुल हुँदै माकलबारीसम्म पनि मर्मतको काम भइरहेको उनले बताए । उनले भने, “बढी बिग्रिएको सडकमा मर्मत भइरहेको छ ।”
विगतमा अरु निकायले पुल बनाएकामा त्यसको मुनिको सडक (अण्डर पास) खुलाउने काम पनि भइरहेको समितिले जनाएको छ । तीनकुने पुल र भत्केको पुल दुवैमा अहिले पुलमुनि सडक निर्माण भइरहेको इञ्जिनीयर अर्यालले बताए । तीनकुने पुलमा मुनि दुवैतर्फ अण्डरपासको काम भइरहेको छ । त्योभन्दा माथि भत्केको पुलमा पनि देब्रेतर्फ अण्डरपासको काम भइरहेको उनले बताए ।
समितिले करिडोर निर्माण, मर्मत, ढल बिच्छ्याउने, पार्क निर्माणलगायतका काम सँगसँगै अघि बढाइरहेको छ । तीनकुने पुलबाट तल्लो भागमा पार्कको निर्माण भइरहेको उनले बताए ।
बागमती करिडोर निर्माण सुरु भएको साढे दुई दशक भइसकेको छ । करिडोर कतिपय स्थानमा सम्पन्न भइसकेका छन् भने कतिपय ट्र्याक मात्रै खुल्दा पनि सवारीसाधन चल्न थालेका छन् । खासगरी जोरपाटीबाट गौशालासम्म र दोभानबाट बल्खु खण्डमा सवारीसाधनको चाप बढी रहेको पाइएको छ । जम्मा ४४ किलोमिटर लम्बाईको सो करिडोरको शुरुको विन्दु बागमती नदीको उद्गम स्थान बागद्वार हो भने अन्तिम विन्दु रातो मछिन्द्रनाथको जात्रासँग सम्बन्धित कटुवाल दह रहेको छ । सुरु र अन्तिम विन्दुतर्फ भने ट्र्याक खोल्ने काम भइसकेको छैन । |
भवन नक्सा अद्यावधिक गर्न सात हजार बढी निवेदन काठमाडौँ । काठमाडौँ महानगरपालिकामा मापदण्ड भएका तर नक्सा स्वीकृत नगरी भवन निर्माण गरेका सात हजार बढी निवेदकले नक्सा स्वीकृत गराउन निवेदन दिएका छन् ।
प्राप्त निवेदनमध्ये एक हजार सात सय ३५ जनाको नक्सा पास भएको छ । बाँकी निवेदकबाट नक्सा दर्ता गर्नेलगायत प्रक्रिया चलिरहेका छन् । मापदण्ड पुगेका तर नक्सा पास नगरी निर्माण भएका भवनको नक्सा पेश गर्न ९० दिनको अवधि दिएर कामपाले २०७९ भदौ २३ गते सार्वजनिक सूचनामार्फत आह्वान गरेको थियो । उक्त सूचनालाई नै आधार मानेर नक्सा अद्यावधिक गर्न निवेदन परेको हो ।
सहरी व्यवस्थापन विभागका प्रमुख सुरज शाक्यका अनुसार गएको साउनदेखि सहरी विकास विभागले नौ सय ६२ वटा डिपिसी स्वीकृत गरेको छ भने एक हजार सात सय ३५ वटा निर्माण सम्पन्न प्रमाण पत्र जारी गरेको छ । यस अवधिमा १० हजार स्क्वायर फिटभन्दा धेरै क्षेत्रफल भएका ७२ वटा भवनको नक्सा स्वीकृत भएका छन् ।
डिजिटल सिग्नेचरसहितको इलेक्ट्रोनिक विल्डिङ परमिट सिस्टम ९इबिपीएस० महानगरले नक्सा स्वीकृतिका लागि प्रयोग गरेको अनलाइन प्रणाली हो । यो प्रणालीलाई राजस्व र बैंकसँग लिङ्क गरिएको छ । भवन संरचनासँग सम्बन्धित उजुरी पनि यही प्रणालीमा आबद्ध गरिएको छ । जनताका पीर मर्कासँग सम्बन्धित कानुनी कागजपत्र प्रणालीमा अपलोड गरेपछि कानुन विभागले प्रणालीबाटै कारबाही प्रक्रिया अगाडि बढाउँछ । प्रणालीमा नागरिकले आफ्नो फाइल कसको डेक्समा पुगेको छ । त्यो डेक्समा पुगेको कति समय भयो भनेर ट्र्याकिङ गर्न सक्नेछन् ।
कामपाले आर्थिक वर्ष २०७५/७६ देखि २०७८/७९ सम्ममा १० हजार स्क्वायर फिटभन्दा धेरै क्षेत्रफल भएका दुई सय ७८ भवनको नक्सा स्वीकृत गरेको छ । विसं २०८० वैशाख १ गतेदेखि पाँच हजार स्क्वायर फिटसम्मका नक्सा स्वीकृत गर्ने अधिकार वडाहरुलाई प्रदान गरिएको छ । |
सुडानमा रहेका १३ नेपाली आइपुगे काठमाडौं । सुडानमा हालै विकसित परिस्थितिमा त्यहाँ रहेका नेपाली नागरिकको सकुशल उद्धार तथा घर फिर्तीका लागि कायरोस्थित नेपाली राजदूतावासको सम्पर्कमा रहेका १३ जना नेपाल आइपुगेका छन् ।
दूतावासको सम्पर्कमा रहेका ३१ जना मध्ये साउदी अरेबिया सरकारको सहयोगमा जेद्दा पु¥याइएका १९ जनामा १३ जना आज नेपाल आइपुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ । छ जना रोजगारदाता कम्पनीको संयुक्त अरब इमिरेट्सको दुबइस्थित शाखामा स्थानान्तरण भएका छन् । चिनियाँ कम्पनीमा कार्यरत एक जना नेपाली नागरिकको चीन सरकारको सहयोगमा यसअघि नै उद्धार भइसकेको छ ।
अन्य १२ जना मध्ये नौ जना नेपाली नागरिक भारत सरकारको सहयोगमा आज पोर्ट सुडानबाट हवाईमार्ग हुँदै भारतको अहमदावादका लागि प्रस्थान गरेको मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । स्वेच्छाले सुडानमै रहेका तीन जनामध्ये रोजगारदाता कम्पनीको प्रबन्धमा एक जना पोर्ट सुडानमा र दुई जना सुडान–इजिप्टको सीमाना नजिक सुरक्षित रहेका छन् । तीनै जना नेपाली नागरिक कायरोस्थित नेपाली राजदूतावासको सम्पर्कमा रहेका छन् ।
संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा कार्यरत नेपाली अधिकारीहरुको यसअघि नै सुरक्षित स्थानमा उद्धार भइसकेको छ । सुडानमा अलपत्र परेका नेपाली नागरिकको उद्धार कार्यमा परराष्ट्र मन्त्रालय तथा कायरो, रियाद र जेद्दास्थित नेपाली नियोगहरुबाट सक्रिय रुपमा समन्वय र सहजीकरण भएको छ । उद्धार प्रकृयामा सहयोग पु¥याउने छिमेकी मित्रराष्ट्र भारत, चीन र मित्रराष्ट्र साउदी अरेबिया सरकारप्रति नेपाल सरकारले धन्यवाद प्रकट गरेको छ । |
समाजमा अपराधको मोडल फेरिँदै गएको छ– प्रहरी महानिरीक्षक कुँवर लुम्बिनी । नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) वसन्त कुँवरले समाज विकाससँगै अपराधको मोडल पनि फेरिँदै गएको बताएका छन् । उनले प्रविधिको प्रयोगबाट गरिने अपराध आजको मुख्य चुनौती रहेको बताए ।
इलाका प्रहरी कार्यलय बुटवलको नवनिर्मित भवनको आज उद्घाटन कार्यक्रममा उनले प्रविधिले सृजना गरेको आपराधिक चुनौतीको नियन्त्रण सामना गर्न नेपाल प्रहरी पनि सोहीअनुसार अग्रसर भएर काम गरिरहेको बताए ।
आइजिपी कुँवरले प्रहरी सीमान्तकृत र निम्नवर्गीय नागरिकको साथी बनेर काम गर्ने गरी अगाडि बढिरहेको बताए । “नेपाल प्रहरीले जनताको विश्वास जित्ने गरी काम गर्नुपर्छ । त्यसका लागि प्रहरी सङ्गठन प्रतिबद्ध छ”, उनले भने, “जनताको जीउधनको रक्षा र मावन अधिकारको संरक्षण गर्दै सर्वसाधारण नागरिकको जनजीवनलाई सरल, सहज र सुरक्षित गराउने दायित्व पूरा गर्न हामी प्रतिबद्ध छौँ ।”
उनले देशैभरका प्रहरी कार्यालयमा नागरिक सहायता कक्षलाई व्यवस्थित बनाउने उल्लेख गर्दै स्थानीय सरकारको समन्वयमा लागु औषध नियन्त्रणको विशेष कार्यक्रम चलाइने बताए । उनले प्रहरीको कार्यदक्षता वृद्धिका लागि भौतिक पूर्वाधारको सम्पन्नतामा पनि ध्यान दिइएको बताए ।
सो अवसरमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले व्यावसायिक क्षेत्रको संरक्षण, दुर्व्यसन न्यूनीकरण र अनुचित दबाब दिने कामको नियन्त्रणमा प्रहरीको सहयोग जरुरी रहेको बताए । कार्यक्रममा प्रहरी नायब महानिरीक्षक (डिआइजी) उमेशराज जोशीले लुम्बिनी प्रदेशको शान्ति सुरक्षा र अपराध नियन्त्रणमा नेपाल प्रहरीले अग्रपङ्क्तिमा रहेर काम गरिरहेको बताए ।
इलाका प्रहरी कार्यालय बुटवलको परिसरमा सङ्घीय सरकारमार्फत प्राप्त रु दुई करोड ४१ लाख २० हजारको लागतमा नागरिक सहायता कक्ष र मेस निर्माण भएको छ भने लुम्बिनी प्रदेश सरकारबाट प्राप्त रु तीन करोड १९ लाख १३ हजारमा प्रहरी ब्यारेक र कार्यालय प्रमुखको निवास निर्माण भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए । |
अझै पक्राउ परेनन् हात्तीको सुँड काट्ने अभियुक्त चितवन । सौराहामा एक महिनाअघि हात्तीको सुँड काट्ने अभियुक्तलाई पक्राउ गर्न सकिएको छैन । गत चैत २१ गते राति पर्यटन व्यवसायी दीपेन्द्र खतिवडाले पालेको चञ्चलकली नामको हात्तीको सुँड काटिएको थियो । राति ११ः३० बजे हात्तीसारमा बाँधेर राखिएको हात्तीको सुँड धारिलो हतियार प्रहार गरी काटिएको थियो ।
घटनालगत्तै चितवन राष्ट्रिय निकुञ्जले अनुसन्धानको प्रक्रिया सुरु गरेको छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले अनुसन्धान भइरहेको बताए । उनले भने, “मानिस पक्राउ परिसकेको छैन । अनुसन्धान भइरहेकाले थप केही भन्न मिल्दैन ।” निकुञ्जले नेपाल प्रहरीलाई पत्राचार गरी सहयोगसमेत लिइरहेको छ । तिवारीले अभियुक्त पक्राउ पर्नेमा ढुक्क रहेको भन्दै यस्ता आपराधिक घटनाका अभियुक्तलाई पक्राउ गरी कारबाही गरिने बताए ।
व्यवसायी खतिवडाले निकुञ्जले अनुसन्धान गरिरहेको भए पनि नतिजा नआएसम्म भन्ने अवस्था नरहेको बताए । हात्तीको अवस्था सुधार हुँदै गएको छ । सुँडले घाँस खान नमिलेपछि माउतेले हातले खुवाउँदै आएको छ भने पानी हात्तीले आफँै खाएको उनले जानकारी दिए । खतिवडाले भने, “पानी खान सकेको छ । घाँस टिप्न सकेको छैन । घाउ ७० प्रतिशत ठिक भयो ।” पशु प्राविधिक किरण रिजालले निकुञ्जका पशु चिकित्सकको परामर्शमा हात्तीको उपचार गरिरहेको उनले जानकारी दिए । |
सार्वजनिक बिदामा पनि रामेछाप प्रशासन खुल्ने रामेछाप । जिल्ला प्रशासन कार्यालयले सार्वजनिक बिदाका दिनसमेत कार्यालय खोलेर नागरिकलाई सेवा दिइरहेको छ । उक्त व्यवस्था यही वैशाख १ गतेदेखि लागू गरिएको कार्यालयले बिहीबार सूचनामार्फत जानकारी गराएको हो । शनिबार र दसैं तिहारजस्ता सार्वजनिक बिदाबाहेक सार्वजनिक बिदाका दिनमा कार्यालय संचालन हुने सूचनामा जनाइएको छ ।
प्रमुख जिल्ला अधिकारी अनिता निरौलाका अनुसार नागरिकको सुविधाका लागि वैशाख पूर्णिमा, श्रीकृष्ण जन्माष्टम, रक्षाबन्धन, घटस्थापना, क्रिसमस, उभौली, धान्यपूर्णिमा, तमु ल्होसार, माघी, सोनाम ल्होसार, महाशिवरात्री र ग्याल्पो ल्होसारका दिन कार्यालयबाट सेवा संचालन हुनेछ ।
त्यसैगरी ईद, बकरईद, गणतन्त्र दिवस, जनयुद्ध दिवस, प्रजातन्त्र दिवस, महिला दिवस, बुद्ध जयन्ती र पृथ्वी जयन्तीका दिनमा पनि कार्यालय खुल्ने जनाइएको छ । सार्वजनिक बिदाका दिन नागरिकता प्रमाणपत्र जारी हुने, राहदानीको सिफारिस हुने र राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा संचालन हुने उक्त कार्यालयले जनाएको छ । बिदाका दिन मुद्दा, प्रशासन, संघसंस्थालगायतका अन्य शाखाको काम भने हुने छैन ।
यसअघि उक्त कार्यालयले कार्यालयको सेवासम्बन्धी सम्पूर्ण फारामहरु निस्शुल्क उपलब्ध गराउनुका साथै अनलाइन फर्मसमेत कार्यालयबाटै भरीदिने गर्दै आएको थियो । |
सर्वोच्चको परमादेश : ‘विदेशबाट आउने तरकारी र फलफूलको विषादी परीक्षण प्रतिशत पेस गर्नू’ काठमाडौं । सर्वोच्च अदालतले दुई महिनाभित्र भारतलगायतका देशबाट आउने तरकारी र फलफूलको विषादी परीक्षण गरी अदालतमा प्रतिवेदन पेस गर्न परमादेश गरेको छ । न्यायाधीशद्वय शुष्मालता माथेमा र नहकुल सुवेदीको इजलासले आज उक्त आदेश गरेको हो । अदालतले उक्त विषयमा चार बुँदे निर्देशनसमेत दिएको छ ।
“नेपालमा पैठारी हुने तरकारी तथा फलफूलमा प्रयोग हुने सबै किसिमका विषादी–परीक्षण भन्सार विन्दुमा नै गरेर मात्र पैठारी गर्नेसम्बन्धी मिति २०७६/३/२ को निर्णय कार्यान्वयन गर्ने सन्दर्भमा भन्सार विन्दुहरूमा प्रयोगशाला स्थापना गर्नू”, आदेशमा भनिएको छ, “त्यसरी स्थापित प्रयोगशालामा सबै किसिमको विषादी परीक्षण हुनसक्ने अन्तर्राष्ट्रियस्तरको आधुनिक उपकरण र दक्ष जनशक्ति उपलब्ध गराउनू ।” उपभोक्ता हित संरक्षण मञ्चका तर्फबाट विष्णुप्रसाद तिमल्सिनाले दायर गरेको रिट निवेदनमाथिको सुनुवाइपछि उक्त आदेश गरेको हो ।
“विषादीको प्रयोगलाई व्यवस्थित गर्नेसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानून एवं मापदण्डको प्रभावकारी कार्यान्वयन गर्न के–कस्तो योजना बनेको छ ? कुनै योजना बनेको भए सो योजना कार्यान्वयनका लागि के–कस्तो तयारी भएको छ ?”, आदेशमा भनिएको छ, “योजना नबनेको भए आम उपभोक्ताले विषादी परीक्षण नगरी पैठारी गरिएका र अनियन्त्रित मात्रामा विषादी प्रयोग गरिएका तरकारी तथा फलफूल खान बाध्य हुनुपर्ने अवस्थाको अन्त्य गरी जनस्वास्थ्य र वातावरणमा गुणात्मक सुधार ल्याउन गर्नुपर्ने निर्णय तथा क्रियाकलापको सूचीसहित सम्बन्धित जिम्मेवार अधिकारीसमेत तोक्नुपर्ने देखिन्छ ।”
मानवको जीउ–ज्यान तथा स्वास्थ्य र वातावरणमा हानि पु¥याउने विषादीयुक्त वस्तुको बिक्री वितरणबाट सुरक्षित हुन पाउने नेपाली नागरिकको मौलिक हकको संरक्षणको सुनिश्चितताका लागि नेपालमा पैठारी हुने तरकारी तथा फलफूल विषादी परीक्षण गरेर मात्र पैठारी गर्ने भनी सूचना प्रकाशित भएको झन्डै चार वर्ष पुग्न लागेको छ ।
आदेशमा भनिएको छ, “यो अवधिमा के–कस्तो योजना तथा मापदण्ड बनी के–कसरी कार्यान्वयन भएको छ ? योजना कार्यान्वयनमा के–कति प्रगति भएको छ, अदालतमा त्यसको जवाफ पेस गर्नू ।” स्पष्ट र कार्यान्वयनयोग्य कार्ययोजना बनाई यो आदेश प्राप्त भएको मितिले दुई महिनाभित्र अन्य विपक्षी एवं सरोकारवालाहरूसँग समेत आवश्यक समन्वय गर्नसमेत आदेशमा भनिएको छ ।
आदेशमा २०७६ साल असार २ को निर्णयबमोजिम पैठारी हुने तरकारी र ताजा फलफूलमा विषादीको अवशेष परीक्षण गरेर मात्र नेपाल भित्र्याइने भनी गरिएको निर्णय के–कति अवधिमा पूर्णरूपमा कार्यान्वयन हुने हो ? भनी सरकारलाई प्रश्न गरिएको छ । |
वन अतिक्रमण गरेर बनाइयो तरकारी संकलन केन्द्रको भवन सुर्खेत । सामुदायिक वन अतिक्रमण गर्नेक्रम बढेको छ । दैनिक विभिन्न व्यक्ति तथा संघ, संस्थाले सामुदायिक वन अतिक्रमण गर्न थालेका हुन् । जसको गतिलो उदाहरण हो, जाजरकोट भेरी नगरपालिका १२ को गुराँस सामुदायिक वन । यो वनलाई सहकारीदेखि विभिन्न व्यक्तिहरुले अतिक्रमण गर्दै आएका हुन् । पछिल्लो पटक वन क्षेत्र अतिक्रमण गरेर तरकारी संकलन केन्द्रको पक्की भवन निर्माण गरिएको छ ।
कर्णाली प्रदेश सरकारले उपलब्ध गराएको बजेटले वन क्षेत्रमा स्रोत केन्द्रको भवन निर्माण थालिएको हो । ३३ लाख लागतमा उक्त क्षेत्रमा भवन निर्माण सुरु गरिएको हो । हाल उक्त भवन निर्माणको चरणमा रहेको स्थानीय पूर्वाधार विकास आयोजन कार्यालय सुर्खेतका इन्जिनियर असिम गौतमले बताए । भवन २०८० असार मसान्त भित्र सम्पन्न गर्ने सम्झौता छ ।
यता डिभिजन वन कार्यालयले भने सामुदायिक वनमा भवन निर्माण गर्न नमिल्ने जनाएको छ । वन अधिकृत राधाकृष्ण दासले वन अतिक्रमण गरेर भवन निर्माण गर्न नमिल्ने बताए । ‘हामीले सामुदायिक वन अतिक्रमण गरी केन्द्र नबनाउन पत्राचार गर्ने छौँ’, उनले भने, ‘अटेर गरे कानुन अनुसार कारबाही गर्छौँ ।’ वन क्षेत्रको जग्गा कसैलाई भोगचलन गर्न पाउने अधिकार नभएको उनको भनाइ छ । संस्थागत रूपमै भइरहेको वन अतिक्रमण रोक्न वडा कार्यालय र जनप्रतिनिधिलाई निर्देशन दिएको उनले जानकारी दिए ।
भेरी न.पा. १२ का वडा अध्यक्ष बसन्त मल्लले भने सबैलाई पायक पर्ने भएकोले सो क्षेत्रमा तरकारी संकलन केन्द्र निर्माण भइरहेको बताए । स्थानीयले भने जनप्रतिनिधि र सामुदायिक वनका पदाधिकारीले आफूखुसी सामुदायिक वन अतिक्रमण गरी भवन निर्माण गर्न थालेको आरोप लगाएका छन् ।
तरकारी संकलन केन्द्रको भवन निर्माणका लागि तत्कालीन कर्णाली प्रदेश सरकारकी आर्थिक मामिला तथा योजना मन्त्री कृष्णा शाहले ५० लाख बजेट विनियोजन गरेकी थिइन् । आफ्नो घर नजिकैका युवाहरुको माग अनुसार मन्त्रीले भवनका लागि बजेट पारेकी हुन् । स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय सुर्खेतबाट कार्यान्वयन हुनेगरी उक्त ठाउँमा तरकारी स्रोत केन्द्रका लागि बजेट आएको थियो । बजेट आएपछि तरकारी संकलन केन्द्र कहाँ बनाउने विषयमा छलफल भएको थियो ।
मध्यपहाडी लोकमार्ग कालोपत्रको जिम्मा पाएको ठेकेदारले आफु खुशी चुरेक्षेत्र दोहन गरेपछि स्थानीयले सोही क्षेत्रमा संकलन केन्द्रको भवन निर्माण गर्न सुझाव दिएका थिए ।
वन समिति र जनप्रतिनिधिको रोहवरमा अतिक्रमित क्षेत्रमा भवन निर्माण कार्य अगाडि बढेको थियो । वन क्षेत्रको जग्गा सुरुमा स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय सुर्खेतका इन्जिनियर असिम गौतमको नेतृत्वमा निरीक्षण गरिएको थियो । सार्वजनिक जग्गामा भवन बनाउन पाउने भन्दै सो ठाउँमा भवनको स्टिमेट तयार गररेको स्थानीयको भनाइ छ । वन क्षेत्रमा वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन विना भवनको टेण्डर भएको थियो ।
सहमति भए भवन निर्माण गर्न सकिने भन्दै कार्यालयले कुल ४७ लाखको टेण्डर गरेको थियो । टेण्डरमा वाइके कन्स्ट्रक्सनले ३३ लाख लागतमा भवन निर्माणको जिम्मा लिएको छ । सरकारले कुनै भवन निर्माण गर्दा जग्गा अनिवार्य उक्त संस्थाको नाममा हुनुपर्ने कानुनी प्रावधान छ । सार्वजनिक जग्गा भएको खण्डमा सम्बन्धित निकायबाट अनुमति लिएर भौतिक संरचना निर्माण गर्नुपर्दछ । |
विद्युतीय सवारीको प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध : मन्त्री ज्वाला काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले विद्युतीय सवारीको प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार सङ्घ र नाडा अटोमोबाइल एशोसिएसन अफ नेपालको सहकार्यमा आयोजित ‘इलेक्ट्रिक मोबिलिटी आगामी नीति तथा बजेटका लागि सुझाव’ कार्यक्रममा उनले विद्युतीय सवारीका लागि नीतिगत र पूर्वाधारमा सुधार गरिने बताए ।
उनले विद्युतीय सवारीसाधन र इमोबिलिटीलाई प्राथमिकतामा राखेर सरकारले आगामी नीति तथा कार्यक्रम तथा बजेट बनाउने उल्लेख गरे । “मैले यहाँ चार्जिङ स्टेशनको पूर्वाधार पनि बन्दै गरेको सुनेँ”, उनले भने, “विद्युतीय सवारीका लागि आवश्यक पूर्वाधार बनाउने विषयमा सरकार गम्भीर छ ।”
नेपाल आयल निगमका उपनिर्देशक मनोजकुमार ठाकुरले पेट्रोलपम्पमा चार्जिङ स्टेशन राख्न नेपाल विद्युत् प्राधिकरणसँग समन्वयको थप आवश्यकता रहेको बताए । “पेट्रोलपम्पमा चार्जिङ स्टेशन राख्न मापदण्ड बनाउनु पर्छ”, उनले भने, “चार्जिङ स्टेशन राख्दा निमगले के सहयोग गर्नुपर्छ त्यसका लागि तयार छ ।”
नेपाल विद्युत प्राधिकरणका इन्जिनियर सागर ज्ञवालीले विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्न स्पष्ट नीतिगत व्यवस्था नभए पनि भन्सार दर कम गर्न सकेमा मात्र पनि विद्युतीय सवारीको बजार बढ्ने विश्वास व्यक्त गरे । “केही वर्ष अघिसम्म इन्धनबाट चल्ने गाडीसँग तुलना गरिन्थ्यो भने अहिले उपभोक्तामा विद्युतीय सवारीप्रतिको विश्वास बढ्दै गएको छ”, उनले भने, “यसका लागि प्राधिकरणले देशभर चार्जिङ पूर्वाधार बनाउने र निजी क्षेत्रलाई प्रोत्साहन गरिरहेको छ ।”
आन्तरिक राजस्व विभागका निर्देशक राजु प्याकुरेलले विद्युतीय सवारीमा बजेटले तोकेबमोजिमको कर लिइरहेको बताए । सरकारले तोकेअनुसारको कर सङ्कलन गरिरहे पनि विद्युतीय सवारीमा लाग्दै आइरहेको करको दर घटाउनु देशको अर्थतन्त्र र वातावरणलाई समेत फाइदा हुनेमा विभाग जानकार रहेको उनको भनाइ थियो ।
नाडा अटोमोबाइल एशोसिएसन अफ नेपालका उपाध्यक्ष राजनबाबु श्रेष्ठले ‘इमोबिलिटी’ अबको भविष्य भएकाले सरकारले यो विषयमा स्पष्ट नीति लिनुपर्ने बताए । “सरकारले सन् २०२५ सम्म नेपालमा गुड्ने कूल निजी सवारीमध्ये विद्युतीय सवारीको सङ्ख्या २५ प्रतिशत पु¥याउने लक्ष्य लिएको छ”, उनले भने, “तर, प्रत्येक वर्षको बजेटमा विद्युतीय सवारीमा लाग्ने भन्सारदर घटबढ हुँदा उपभोक्ता निश्चिन्त बन्न सकेका छैनन् ।”
कार्यक्रममा व्यवसायीले नेपालमा बढ्दै गएको विद्युतीय सवारीलाई प्रवर्द्धन र विकास गर्न सरकारले स्थिर नीति लिनुपर्नेमा जोड दिएको थिए । विद्युतीय सवारी साधनलाई प्रोत्साहन दिन नीतिगत स्थिरता हुनुपर्नेमा उनीहरूको जोड थियो । |
अनुकूल मौसमको प्रतीक्षामा सयौँ सगरमाथा आरोही काठमाडौँ । मौसम अनुकूल भइदिएको भए आजकै दिन सगरमाथाको चुचुरोमा पुग्ने बाटो खुलिसक्थ्यो । पूर्वनिर्धारित तालिकाअनुसार आज सगरमाथाको चुचुरोसम्म डोरी टाँग्ने (रोप फिक्सिङ) गर्ने योजना थियो । तर, एकसातादेखि बिग्रिएको मौसमले सगरमाथा आरोहणमा समेत अवरोध पुगेको छ ।
सगरमाथा आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर) ले सगरमाथाको साउथ कोल (चौथो शिविर) सम्म बाटो बनाइसकेका छन् । उनीहरूले चुचुरोसम्म डोरी टाँगेपछि मात्र आरोहण सुरु हुन्छ । प्रतिकूल मौसमका कारण आइसफल डाक्टरलाई चुचुरोसम्म पुग्न कठिन भइरहेको सगरमाथाको दोस्रो शिविरमाथिको बाटो बनाउने जिम्मा पाएको इमाजिन नेपाल ट्रेक एन्ड एक्सपिडिसन कम्पनीले जनाएको छ ।
सगरमाथा आरोहणको ढोका खुलाउने प्रतीक्षामा रहेका आइसफल डाक्टरजस्तै आरोहणको अनुकूल मौसमका लागि नेपाली र विदेशी गरी चार सयभन्दा बढी सगरमाथा आरोही प्रतीक्षारत छन् । उनीहरू सगरमाथाको आधार शिविर र दोस्रो शिविरमा सुखद आरोहणको पर्खाइमा छन् ।
चुचुरोसम्म बाटो बनाउने आइसफल डाक्टर पनि अनुकूल मौसमको पर्खाइमा आधार शिविरमा छन् । मौसमले साथ दिएमा छिट्टै उनीहरूले सगरमाथाको चुचुरोसम्म डोरी टाँगेर आरोहण शुरु भएको सन्देश दिने इमाजिन नेपालका कार्यकारी निर्देशक दावा ग्याल्जेन शेर्पाले जानकारी दिए । “शुरुमा आजसम्म डोरी टाँग्ने लक्ष्य थियो, मौसमको प्रतिकूलताले त्यो अहिले रद्द भइसकेको छ”, उनले भने, “मौसम विवरणअनुसार शनिबार र आइतबार मौसम राम्रो देखाएकाले सायद आरोहण निरन्तर अघि बढ्छ होला ।”
अहिलेको मौसममा सगरमाथा क्षेत्रमा प्रतिघण्टा ३५ देखि ४० किलोमिटर हावाको वेग चलेकाले आरोहणमा कठिनाइ भएको हो । सो क्षेत्रमा हावाका साथै हिमपात भइरहेको छ । आरोही केही सगरमाथा आधार शिविरमा छन् भने केही काठमाडौँ फर्किएका छन् । अहिलेको मौसममा आरोहण गर्दा जोखिम हुने भएकाले सबै आरोही अनुकूल मौसमको पर्खाइमा छन् ।
पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले धेरै आरोही सगरमाथा आधार शिविरमा अनुकूल मौसमको प्रतीक्षामा रहेको बताए । “उपयुक्त मौसमको पर्खाइमा रहेका आरोही दोस्रो र तेस्रो शिविरसम्म पुग्दै पुनः आधार शिविर फर्किरहेका छन्”, उनले भने, “मौसम खुलेपछि सबै आरोहीको सगरमाथा क्षेत्रमा जाम हुन्छ ।”
आरोहणलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन विभागले सगरमाथा आधार शिविरमा अनुगमन तथा सहजीकरण गर्नका लागि सम्पर्क कार्यालय स्थापना गरेको छ । खिमलाल गौतमको संयोजकत्वमा सम्पर्क अधिकृत, पर्यटन मन्त्रालय, विभाग, नेपाली सेना, नेपाल प्रहरी, हिमालय उद्धार सङ्घ, सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी) र स्थानीय प्रतिनिधिहरू रहेको समिति सम्पर्क कार्यालयमा रहेर सहजीकरण गरिरहेको विभागले जनाएको छ
सगरमाथाको दोस्रो शिविरसम्म एसपिसिसीले बाटो बनाएको थियो । पछिल्लो एक सातादेखि सगरमाथा क्षेत्रमा मौसमको खराबीले बाक्लो हिउँ पर्नुका साथै हावा चलिरहेकाले आरोहण अघि बढ्न सकेको छैन । आइसफल डाक्टरहरू सगरमाथाको आधार शिविरमा फर्किएका छन् । मौसम अनुकूल हुनेवित्तिकै चुचुरोसम्म डोरी टाँग्ने काम सुरु हुने निर्देशक शेर्पाले बताए । साउथ कोलबाट चुचुरोसम्म बाटो खुलाउन झण्डै एक दिनको समय लाग्ने उनको भनाइ छ ।
लुक्लामा रहेएका सेभेन समिट ट्रेक्सका प्रबन्ध निर्देशक मिङ्मा शेर्पाका अनुसार अहिले धेरै सङ्ख्यामा आरोही सगरमाथाको आधार शिविरमा छन् । सगरमाथा क्षेत्रमा मौसम बिग्रिएका कारण आफूहरू लुक्लामा आराम गरिरहेको उनले बताए । शेर्पाको कम्पनीबाट मात्रै ८० भन्दा बढी आरोही छन् । आधार शिविरमा रहेका आरोही दोस्रो र तेस्रो शिविरसम्म ओहोरदोहोर गरिरहेका भए पनि पछिल्ला दिनमा मौसम बिग्रिएकाले उनीहरू आधार शिविर ओर्लिएका हुन् ।
वसन्त ऋतुको यो याममा सगरमाथा आरोहण गर्न इतिहासकै सर्वाधिक बढी आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार ४३ आरोही समूहका चार सय ६६ आरोहीले आरोहण अनुमति लिएका हुन् । उनीहरूमध्ये ९८ महिला र तीन सय ६८ पुरुष छन् । सगरमाथा आरोहणको ७० वर्षे लामो इतिहासमा यो यामको आरोहणमा सबैभन्दा बढी आरोहीको सङ्ख्या हो ।
सगरमाथा आरोहणका लागि सन् २०२२ मा ४४ समूहका तीन सय २३ र सन् २०२१ मा ४२ समूहका चार सय नौ जनाले अनुमति लिएको विभागको पर्वतारोहण शाखाका शाखा अधिकृत विज्ञान कोइरालाले बताए ।
हिमाल आरोहणका लागि वसन्त ऋतु उपयुक्त समय मानिन्छ । हिमाल आरोहण आफैँमा साहसिक कार्य भए पनि मौसमका दृष्टिले यो तुलनात्मकरूपमा अनुकूल मानिन्छ । त्यसैले हिमाल आरोहण गर्न चाहने आरोहीहरूको सङ्ख्या वसन्त ऋतुमा बढी हुने गरेको छ ।
नेपाल पर्वतारोहण सङ्घका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाका अनुसार नेपाल तर्फबाट सगरमाथा आरोहण गर्ने हालसम्मकै बढी आरोहीले अनुमति लिएका हुन् । सगरमाथाको उत्तरी मोहोडाबाट पनि चुचुरोमा पुग्न सकिन्छ । कोरोना महामारीपछि तिब्बतबाट आरोहण रोकिएकाले अहिले नेपालमा आरोहीको सङ्ख्या बढेको हुनसक्ने अध्यक्ष शेर्पाको भनाइ छ ।
पर्यटन विभागको विवरणमा हालसम्म सगरमाथा आरोहणमा नेपालसहित ६५ देशका नागरिकले अनुमति लिएका छन् । सन् १९५३ मे २९ तारिखका दिन दुई साहसी पर्वतारोही नेपाली तेञ्जिङ नोर्गे शेर्पा र न्यूजिल्याण्डका सर एडमन्ड हिलारी सगरमाथाको चुचुरोमा पुगेका थिए । |
कोरोना भाइरस र डेंङ्गुबाट सङ्क्रमितको मृत्यु सुदूरपश्चिम । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारार्थ भर्ना गरिएका कोरोना भाइरस र डेंङ्गुबाट सङ्क्रमित एक युवकको उपचारका क्रममा गएराति मृत्यु भएको छ । अस्पतालको ‘भेन्टिलेटर’मा उपचाररत बैतडीका ३० वर्षीय युवकको गएराति मृत्यु भएको अस्पतालका सूचना अधिकारी मेखराज उपाध्यायले जानकारी दिए ।
नशासम्बन्धी रोगको उपचार गराउन अस्पतालमा भर्ना गरिएका युवकको यही वैशाख १७ गते पिसिआर पद्धतिबाट नमुना जाँच गराउँदा कोरोना ‘पोजेटिभ’ देखिएको थियो । त्यसको दुई दिनपछि पुनःनमुना जाँच गराउँदा डेङ्गुकोसमेत सङ्क्रमण देखिएपछि थप उपचारका लागि सङ्क्रमित युवकलाई भेन्टिलेटरमा राखिएको उनले बताए । युवकको अस्पतालमै गत चैत २५ गते नशासम्बन्धी समस्याको शल्यक्रिया गरिएको जनाइएको छ ।
यसअघि यही वैशाख ३ गते अस्पतालको सघन उपचार कक्षमा उपचाररत कोरोना सङ्क्रमित एक महिलाको मृत्यु भएको थियो । सुदूरपश्चिम प्रदेशमा गत चैत महिनादेखि कोरोना भाइरसको सङ्क्रमण पुनः बढ्न थालेको छ । सङ्क्रमण दर बढेसँगै रोगले हुने मृत्युदर पनि बढ्नसक्ने स्वास्थ्यकर्मीको भनाइ छ । भारतमा कोरोना सङ्क्रमण बढेसँगै नेपालमा पनि बढ्न थालेको हो ।
खासगरी सीमा नाका हुँदै भारतबाट भित्रिने अधिकांश नागरिकमा कोरोना भाइरसको सङ्क्रमण देखिने गरेको छ । कोरोना बढ्दै गए पनि तोकिएको स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा सर्वसाधारणबाट भइरहेको लापरबाहीले रोगको सङ्क्रमण थप बढ्नसक्ने स्वास्थ्यकर्मीको भनाइ छ । कोरोना भाइरसको समस्या देखिएयता बीचमा झण्डै एकवर्षसम्म सुदूरपश्चिममा यो रोगका कारण हुने मृत्यु दर शून्य थियो ।
सङ्क्रमण पुनःबढ्न थालेपछि कोरोना भाइरस विरुद्धको बुस्टर डोज(खोपको मात्रा) स्वास्थ्य संस्थामार्फत् लगाउन थालिएको छ । |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.