content
stringlengths 20
64.1k
⌀ |
---|
बालुवा छानेर विद्यालय खर्च जुटाउँदै विद्यार्थी बेदकोट। कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवकी रेश्मा दमाईं कक्षा ६ मा अध्ययन गर्छन्। प्रत्येक दिन दिउँसोको समयबाहेक महाकाली नदीमा बालुवा छानिरहेको भेटिन्छन्, उनी। विद्यालय समयबाहेक महाकालीमा बालुवा, गिट्टी छानेर पढाइको खर्च जोहो गर्ने गरेको रेश्माले बताए।
“परिवारको आर्थिक अवस्था कमजोर छ, त्यसैले लेखपढका लागि कापी, किताब किन्न पैसा होस् भनेर बालुवा छान्ने काम गर्छु”, उनले भने, “विद्यालयबाट फर्किएर दिउँसोदेखि बेलुकासम्म बालुवा छान्छु।”
रेश्माका अनुसार बुबा कामको सिलसिलामा भारतमा छन्। आमा महाकालीमै बालुवा छान्ने काम गर्छन्। आमासँगै महाकालीमा बालुवा छानेर विद्यालयको खर्च जुटाउनुका साथै बिहान–बेलुकाको खानाको जोहो समेत गर्ने गरेको उनको भनाइ थियो।
ब्रह्मदेवकै करिष्मा दमाईंले यसपटक कक्षा १० को परीक्षा दिइन्। उनी एसइई दिएर फुर्सदको समयमा बालुवा, गिट्टी छान्ने काम गर्छिन्। “उच्च शिक्षा पढ्न पैसा छैन, परीक्षा दिएपछि फुर्सदको समयमा बालुवा छान्ने गर्नु। त्यसबाट आएको पैसा बचत गरेर राख्छु”, उनले भनिन्। बालुवा छानेर पाएको पैसाले उच्च शिक्षा पढ्ने सपना पूरा हुने र घरपरिवारलाई आर्थिक सहायता हुने करिष्माको भनाइ छ।
भीमदत्त नगरपालिका–९ ब्रह्मदेवस्थित महाकाली नदीमा गिट्टी, बालुवा छान्नेको आजभोलि ताँती देखिन्छ। आमाबुवासँगै विद्यालय पढ्ने उमेरका बालबालिका पनि बालुवा, गिट्टी छान्ने काममा जुटेका देखिन्छन्। आर्थिक अवस्था कमजोर भएका तटीय क्षेत्रका बासिन्दा तराईको उखरमाउलो गर्मीकै बीच असिनपसिन भएर नदीजन्य पदार्थ उत्खनन गरेर जीविकोपार्जन गर्ने गर्दछन्।
“घरपरिवारको सबै खर्च बालुवा छानेरै चलेको छ, अरू केही काम पाइँदैन”, ब्रह्मदेवकी कलावती पालले भनिन्, “बालुवा नछाने भोकै बस्नुपर्ने अवस्था छ।” उनका अनुसार विद्यालयको समयबाहेक अन्य समयमा बालबालिका पनि बालुवा, गिट्टी छान्ने काम सघाउनका लागि आउने गरेकी छन्।
कलावतीका श्रीमान् मानसिंह पनि महाकालीमै बालुवा छान्ने काम गर्छन्। उनका चार छोराछोरी छन्। “खेतीपाती गर्न पर्याप्त जमिन छैन, बस्नलाई छाप्रो मात्रै छ, घरका सबै सदस्य यो काममा जुट्छौँ”, मानसिंहले भने, “महाकालीकै भरमा जीवन चलेको छ, गहुँ, चामल किनेरै खानुपर्छ।”
सात/आठ महिना बालुवा छानेर कमाएको पैसाले विद्यालय खर्च जोहो गर्ने गरेको कक्षा ९ मा अध्ययनरत विद्यार्थी माया भुलले बताइन्। उनका अनुसार कार्तिक सुरुआतदेखि नदी तटीय क्षेत्रका आर्थिक अवस्था कमजोर भएका परिवारका सदस्य बालुवा छान्ने काममा जुट्ने गर्दछिन्। गिट्टी बालुवा बेचेर मासिक रू १५ हजारसम्म आम्दानी गर्ने गरेको मायाले बताइन्।
बालुवा प्रतिट्रली रू एक हजार पाँच सय र गिट्टी रू दुई हजार सात सयमा बिक्री गर्ने गरेको दुरा भुलले बताए। “एक मान्छेलाई ट्रली बनाउन हप्तादिनभन्दा बढी लाग्छ। दुई/तीनजना मिलेर दुई/तीन दिनमा एक ट्रली तयार हुन्छ”, उनले भने, “ट्र्याक्टर धनी यहीँ आएर गिट्टी, बालुवा किन्छन्।” – रासस |
धमाधम हटाइँदै अव्यवस्थित तार काठमाडाैं। काठमाडौं महानगरपालिकाभित्र अव्यवस्थितरूपमा राखिएका टेलिफोन, इन्टरनेटलगायतका तार व्यवस्थापनको काम धमाधमरूपमा भइरहेको छ।
महानगरपालिकाको ताकेतापछि सेवा प्रदायक कम्पनीले टेलिफोन, इन्टरनेट, केवललगायतका तार व्यवस्थित गर्ने उद्देश्यले तार काट्ने र हटाउने काम भइरहेको हो। तार व्यवस्थापनका लागि काटिएका तार सडकपेटीमा अलपत्र छोडिँदा पैदलयात्रुलाई समस्या हुनुका साथै त्यसले दुर्घटनाको जोखिम बढाएको काठमाडौं महानगरपालिका-९ सिनामंगलका ज्ञानु राणाले बताइन्।
उनले भने, “अव्यवस्थित तार व्यवस्थापन गर्ने कार्य राम्रो हो, तर काटिएका तार सडकमा छोडिएका कारण त्यसले दुर्घटना निम्तिनुका साथै पैदलयात्रुलाई पनि समस्या हुने गरेको छ।”
बानेश्वर, थापागाउँलगायत क्षेत्रमा सेवा प्रदायक कम्पनीले अहिले तार काटेर फुटपाथमै भद्रगोलरूपमा छाडेका कारण अल्झिएर लड्ने खतरा बढेको उनको भनाइ छ। सडकमै छोडिएका तारमध्ये सबैभन्दा बढी इन्टरनेट, केबल सेवा प्रदायकका तार र टेलिफोनका तार बढी रहेका छन्।
काठमाडौं महानगरपालिकाभित्रका अव्यवस्थित तार व्यवस्थापन गर्ने कार्य गएको वैशाख २५ गतेबाट सुरु भएको हो। सेवाका लागि चाहिनेभन्दा धेरै तार राखेर पोलमा भएको जोखिम, सहरी सुन्दरतामा देखिएको असर र आगलागीको जोखिमलगायत पक्षलाई हेर्दै महानगरपालिकाले पहिलो चरणमा माइतीघर मण्डलादेखि बानेश्वर हुँदै एयरपोर्टसम्म र न्यूरोडदेखि वसन्तपुर, असन क्षेत्रको तार व्यवस्थापन गर्न सुरु गरेको काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजु पाण्डेले जानकारी दिए।
पछिल्लो समय काठमाडौं महानगरभित्र अव्यवस्थित तार व्यवस्थापन गर्ने कार्य राम्रो भएको नयाँबानेश्वरका स्थानीय मुकेश हमालले बताए। उनले भने, “तार व्यवस्थापन गर्दा राम्रो त देखिएको छ तर, बाटोमा तार फालिएका कारण पैदलयात्रुलाई समस्या हुने गरेको छ, बाटोमा फालिएका तार चाँडो व्यवस्थापन गरिनुपर्छ।”
काठमाडौं महानगर प्रहरी बलका प्रमुख पाण्डेले एकीकृत तार व्यवस्थापन गर्दा निस्केका तार तथा काटेर बाटोमा राखिएका तारलाई सुरक्षित व्यवस्थापन गर्न तत्काल निर्देशन दिने बताए। रासस |
ट्याक्टर पल्टिँदा एकजनाको मृत्यु अर्घाखाँची। अर्घाखाँचीमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ।
जिल्लाको भूमिकास्थान नगरपालिका-७ किर्लुकमा रा १ त ४२९५ को ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा चालकको घटनास्थल मै मृत्यु भएको छ भने दुईजना घाइते भएको जिल्ला प्रहरी कर्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक विक्रम रिजालले जानकारी दिए।
रेग्मीका अनुसार सन्धिखर्कबाट खिल्जीतर्फ जाँदै गरेको ट्याक्टर ब्रेक फेल भई सडक मै पल्टिएको थियो । दुर्घटनामा परि चालक ऐरावती गाउँपालिका-१ कोल्बोट, प्युठानका २७ वर्षीय कमल सोमै मगरको मृत्यु भएको हो भने सितगंगा नगरपालिका-७ दमारबेसी, अर्घाखाँचीका २३ वर्षीय कृष्ण आचार्य र प्युठान ऐरावती गाउँपालिका-१ बस्ने २२ वर्षीय माधव खत्री घाइते भएको प्रहरी निरीक्षक रेग्मीले जानकारी दिए।
घाइते आचार्यको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइते दुई जनाको जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार भइरहेको छ।
|
आर्थिक मन्दीले व्यवसायी पलायन हुने स्थिति आएको भन्दै घरभाडामा छुट दिन माग गण्डकी। आर्थिक मन्दीले व्यवसायी पलायन हुने स्थिति आएको भन्दै घरभाडामा छुट दिन घरधनीसमक्ष माग गरिएको छ। पोखरास्थित नेपाल राष्ट्रिय घरभाडा सरोकार समितिले घरभाडामा कम्तीमा २५ देखि ५० प्रतिशतसम्म छुट दिनुपर्ने जनाएको हो।
समितिद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा समितिका अध्यक्ष कमलप्रसाद न्यौपानेले घरबहाल कर पनि घरधनी आफैँले तिर्न आग्रह गरे। समितिले सम्झौताअनुरुप भाडा वृद्धिको समय आएको भए पनि त्यसलाई पछाडि सार्न माग गरेको छ।
“घरभाडा बेलैमा तिर्न नसकेका कारण व्यवसायीहरू विस्थापित हुनुपरिरहेको छ”, समितिका अध्यक्ष न्यौपानेले भने, “संकटको अवस्थामा घरधनीले व्यवसायीको मर्का बुझिदिनुस् भन्ने हाम्रो माग हो।”
कोभिड–१९ ले थलिएको व्यवसाय क्षेत्र पछिल्लो आर्थिक संकटका कारण झन्झ्न मारमा परेको उनले बताए। आर्थिक मन्दीका कारण १५ देखि २० प्रतिशतसम्म व्यवसायी पलायन भएको अनुमान समितिको छ।
अधिकांशले भाडा तिर्न नसकेर व्यवसायबाट हात धुनुपरेको बताउने गरेको समितिका प्रथम उपाध्यक्ष उमापति ढकालले बताए। उनले व्यवसायीहरू विषम परिस्थितिबाट गुज्रिरहेकाले घरभाडा वृद्धि नगर्न र बढेको भाडादर मिनाहा गरिदिन माग गरिएको बताए।
समयमा घरभाडा नतिर्ने व्यवसायीलाई घर खाली गर्न बाध्य नपार्नसमेत समितिले अनुरोध गरेको छ। “यस्तो बेला घरधनीले राहतको प्याकेज ल्याउन जरुरी छ, आखिर व्यवसायी र घरधनी भनेको एकअर्काका सहयोगी पनि त हुन्”, उनले भने। -रासस |
पार्क निर्माणमा जोड दिँदै अधिकारसम्पन्न वाग्मती सभ्यता समिति ललितपुर। धार्मिक विशेषता रहेको वाग्मती नदीलाई हिन्दू तथा बौद्धधर्ममा पवित्र मानिन्छ। वाग्मती नदी किनारमा रहेका केही मन्दिर परिसरमा उद्यान (पार्क) निर्माण हुँदैछन्।
उपत्यकाको वातावरण स्वच्छ, पवित्र र सुन्दर तुल्याउने, नदी प्रणालीसँग सम्बन्धित ऐतिहासिक पुरातात्विक एवं सांस्कृतिक सम्पदाको संरक्षण गर्ने र सम्पूर्ण वाग्मती सभ्यताको पहिचान एवं जगेर्ना गर्ने उद्देश्य बोकेको अधिकारसम्पन्न एकीकृत विकास समितिले वाग्मती किनारमा पार्क निर्माणलाई जोड दिँदै आएको छ।
ललितपुरको ज्वागलमा विसं २०५२ मा स्थापना भएको युएनपार्क हाल अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको स्वामित्वमा छ। रुख भएका कारण हरियाली देखिने युएनपार्क आकर्षक बनाउनका लागि काम भइरहेको छ।
युएनपार्कअन्तर्गतको करिब एक हजार पाँच सय ७६ रोपनी जग्गा विसं २०७५ देखि अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको स्वामित्वमा रहेको युएनपार्कसँगसँगै वाग्मती किनारमा विभिन्न पार्क निर्माण भइसकेको र कुनै निर्माणका क्रममा रहेको सूचना अधिकारी कमल अर्यालले जानकारी दिए।
अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सूचना अधिकारी अर्यालले भने, “वाग्मती करिडोर छेउमा साना-ठूला गरी जम्मा ३१ वटा पार्क छन्। हाम्रो स्वामित्वमा भएको केही जग्गा पार्क व्यवस्थापनाका लागि विभिन्न संस्थालाई निश्चित अवधिका लागि दिएका छौं। उहाँहरूले संस्थागतरूपमा नाम राखेर पार्क निर्माण गर्नुभएको छ।”
अधिकारी अर्यालका अनुसार वाग्मती नदीको किनारमा पार्क निर्माणका लागि नदीको माटो निकालेर पार्क व्यवस्थापन गरिएको छ। वाग्मती नदीले माटो बगाएर ल्याउँदा नदीमा माटो थुप्रिएर बाढी पार्क र बस्तीमा पस्छ। नदीको माटो निकालेमा बागमती नदी सलल बग्छ र पार्क र बस्तीलाई पनि जोखिम कम हुन्छ। नदी छेउमा पार्क निर्माण गर्नुले नदी सफा हुन्छ।
हाल निर्माण भएका पार्कमा टिकटको व्यवस्था गरिएको छैन। म्युजिक भिडियो सुटिङको लागि मात्र केही सीमित रकम लिने गरिएको छ। पार्क व्यवस्थापनका लागि टिकटको सिस्टमको व्यवस्था गरेमा पार्क अझै राम्रो हुने अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको भनाइ छ।
“पार्कमा बिहान र बेलुका मान्छेको भीडभाड हुन्छ। बिहान योगा र मोर्निङवाकका लागि मान्छे आउँछन् । आजभोलि त दिउँसो अत्यधिक गर्मी हुने भएकाले गर्मी छल्नका लागि पनि मान्छे पार्कभित्र पस्छन्। अरु बेला भने बेलुकीपख धेरै जना पार्कभित्र घुमिरहेका हुन्छन्।
“अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले वाग्मती करिडोरको छेउमा पार्क मात्र नभई वाग्मती किनारमा भूकम्पपछि भत्किएका मन्दिर पनि निर्माण गरेको छ। अबको करिब चार वर्षपछि वाग्मती किनारका पार्क आकर्षक देखिने छन्।” एकीकृत विकास समितिका इञ्जीनियर असिम अधिकारीले भने।
वाग्मती किनारमा निर्माण भएका विभिन्न पार्क निर्माण भइसकेपछि त्यसको राम्रोसँग व्यवस्थापन र संरक्षण गर्नको लागि महानगरपालिकालाई हस्तान्तरण गर्ने अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको भनाइ छ। रासस |
बेनी-जोमसोम सडक अवरुद्ध म्याग्दी। बाढीले कल्भर्ट बगाएपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङ जिल्लालाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडक अवरुद्ध भएको छ।
सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका-२ भुरुङ तातोपानीमा रहेको कल्भर्ट पुल मंगलबार रातिको बाढीले बगाएको हो। पुल बगाएपछि बेनी-जोमसोम सडकमा सिधा सवारी आवतजावत बन्द भएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले जानकारी दिए।
बेनीबाट मुस्ताङ जाने र मुस्ताङबाट बेनीतर्फ आउने सवारीसाधन बीच बाटोमै रोकिएका छन्। जेठ ६ गते रातिको बाढीले भुरुङ-तातोपानीमा रहेको तीन मिटर लामो कल्भर्ट पुल भत्काएको थियो।
पुल भत्काएपछि ह्युमपाइप राखेर अस्थायीरूपमा खोला वारपार गर्ने संरचना बनाइएको थियो। पुनः बाढी आएर ह्युमपाइप र वरपरको सडक कटान गरेर बगाएको हो।
छयात्तरु किलोमिटर दूरीको बेनी–जोमसोम सडक कालीगण्डकी करिडोर सडक आयोजनामार्फत स्तरोन्नतिको क्रममा छ। आयोजनाका सुुपरभाइजर इन्द्रसिंह शेरचनले आज बिहानैदेखि डोजर र मजदुर परिचालन गरेर सडक खुलाउने प्रयास भइरहेको बताए।
यसैगरी म्याग्दीको धवलागिरि गाउँपालिका-७ धारापानीमा भिरबाट लडेर मंगलबार एक महिलाको ज्यान गएको छ। धारापानीका २३ वर्षीया सविना विकको घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको वडाध्यक्ष अशोक खत्रीले बताए।
बिहान १० बजे बेहोस अवस्थामा उद्धार गरिएकी विकलाई उपचारका लागि अपराह्न पोखराको मणिपाल शिक्षण अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।
विकको शव पोखराको मणिपाल शिक्षण अस्पतालमा राखिएको छ। विकलाई अस्पतालमा लैजानका लागि स्थानीयवासी र संघसंस्थाबाट चन्दा उठाएर रु एक लाख ४० हजार भाडा तिर्ने गरी हेलि एभरेष्टको हेलिकोप्टर मगाएका थिए। रासस |
इस्कोनको ४३औं जगन्नाथ रथयात्रा काठमाडाैंमा काठमाडाैं। पहिले जगन्नाथ पुरीमा मात्रै हुने जगन्नाथ रथयात्रा करिब ५० वर्ष पहिलेदेखि अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ, इस्कोन संस्थापक, आचार्य अभयचरणारविन्द भक्तिवेदान्त स्वामी प्रभुपदले विश्वव्यापी रूपमा अमेरिकाको सन् फ्रान्सि्को बाट सुरुवात भएको उक्त जगन्नाथ रथयात्रा नेपालमा पनि विगत ४२ वर्ष देखि आयोजना गरिँदै आएको छ।
यही असार ५ गते काठमाडाैंमा हुने जगन्नाथ रथयात्रा कमलादी, जमल, भद्रकाली, न्यूरोड हुँदै बसन्तपुरमा पुगेर टुंगिने कार्यक्रममा नेपालभरिका विभिन्न स्थानका हजारौं व्यक्तिहरूको सहभागिता रहने बताइएकाे छ।
उक्त कार्यक्रममा भजन कीर्तन र नि:शुक्ल प्रसाद वितरण हुने इस्कोन नेपालले जनाएको छ। साथै सम्पूर्ण नेपालीहरुलाई उपस्थितिको निम्ति आयोजकले विशेष अपील समेत गरेको छ।
वैदिक सनातन धर्ममा चारधामको विशेष महत्व रहने गर्छ। जसमध्ये एक हो भारतको ओडिसामा अवस्थित जगन्नाथ पुरी धाम। जहाँ जगन्नाथ रथयात्रालाई विशेष महत्वका हजारौं भक्तजनका साथ मनाइन्छ। जसले एकपल्ट मात्रै भगवान् जगन्नाथको रथको डोरी स्पर्श गर्छ उसले हजारौं अश्वमेध यज्ञ गरे बराबरको फल मिल्ने धार्मिक मान्यता छ। |
कांग्रेसद्वारा जनकपुरधामका मेयर माथिको कारबाही फुकुवा महेन्द्रनगर धनुषा। नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहमाथिको कारबाही फुकुवा गरेको छ । साहको कांग्रेसभित्रको साविकको पदलाई निरन्तरता दिँदै कारबाही फुकुवा गरिएको हो ।
स्थानीय तह निर्वाचन २०७९ मा पार्टीका तर्फबाट विद्रोही भएका उम्मेदवार, उनका प्रस्तावक र समर्थकलाई कांग्रेस पार्टीको विधान २०१७ ९संशोधनसहित० धारा ३४ बमोजिम साधारण सदस्यसमेत नरहने गरी पार्टीले कारबाही गरेको थियो ।
साहले पुनः पार्टीमा रही हिजोका आफ्ना गतिविधिलाई आत्मसात् गर्दै पार्टीको आदर्श, सिद्धान्त र उद्देश्यअनुसार क्रियाशील रहने गरी सोमबार निवेदन दिई पार्टीमै रहने प्रतिबद्धता व्यक्त गरेकाले कांग्रेस केन्द्रीय कार्यसमितिले अनुमोदन गर्नेगरी उनको साविकको पदलाई निरन्तरता दिँदै कारबाही फुकुवा गरिएको केन्द्रीय अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुङ्गानाले बताए।
साह यसअघि कांग्रेसको जनकपुरधाम नगर सभापति थिए । साहले स्थानीय तहको निर्वाचनका क्रममा ९ वैशाख २०७९ मा नगर सभापति पदबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दिएका थिए।
उनको प्रस्तावकमा नन्दलाल साह र समर्थक रामप्रसाद पजियार छन् । निर्वाचनका दौरान गठबन्धनले जनकपुरधाम जनता समाजवादी पार्टीलाई दिने निर्णय गरेपछि असन्तुष्ट जनाउँदै साहले कांग्रेस परित्याग गर्दै नगर प्रमुखमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए । |
मधेसको जनसङ्ख्या सात लाख बढ्यो महोत्तरी । मधेसमा पछिल्ला १० वर्षमा जनसङ्ख्या सात लाख १० हजार चार सय ५५ बढेको छ । विसं २०६८ र २०७८ राष्ट्रिय जनगणनाबीचको अवधिमा यो सङ्ख्या बढेको राष्ट्रिय तथ्याङ्क कार्यालय थापाथली काठमाडौँले आज बर्दिबासमा राष्ट्रिय जनगणना–२०७८ को नतिजा सार्वजनिक कार्यक्रम आयोजना गरेर जानकारी दिएको हो ।
यसअघि २०६८ को राष्ट्रिय जनगणनामा मधेसको जनसङ्ख्या ५४ लाख चार हजार एक सय ४५ थियो । २०७८ को गणनामा यो सङ्ख्या बढेर ६१ लाख १४ हजार छ सय पुगेको छ । पुरुष ३० लाख ६५ हजार सात सय ५१, महिला ३० लाख ४८ हजार आठ सय ४९ र अन्य लिङ्गी (तेस्रोलिङ्गी) दुई हजार नौ सय २८ रहेका राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक मनोहर घिमिरेले जानकारी दिए ।
मधेसको वार्षिक जनसङ्ख्या वृद्धिदर राष्ट्रिय वृद्धिदरभन्दा निकै बढी पाइएको छ । पछिल्लो गणनामा राष्ट्रिय जनसङ्ख्या वृद्धिदर ०.९२ प्रतिशत वार्षिक देखिएको छ तर मधेसमा यो दर १.१९ प्रतिशत रहेको सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख छ । मधेसभित्र सबैभन्दा बढी जनसङ्ख्या वृद्धिदर रौतहटमा १.६३ प्रतिशत र सबैभन्दा कम पर्सामा ०.८२ प्रतिशत रहेको निर्देशक घिमिरेले स्पष्ट पारे ।
यसैगरी मधेसमा पछिल्ला १० वर्ष (२०६८–२०७८) बीच परिवार सङ्ख्या पनि बढेको छ । विसं २०६८ मा नौ लाख ३२ हजार तीन सय आठ परिवार रहेका थिए । यो सङ्ख्या २०७८ मा बढेर ११ लाख ५६ हजार तीन सय ८३ पुगेको छ । यो वृद्धिदर २४.०१ प्रतिशत भएको प्रतिवेदन उद्धृत गर्दै घिमिरेले बताए ।
मधेसमा पछिल्लो जनसङ्ख्या तालिकाअनुसार सबैभन्दा बढी जनसङ्ख्या धनुषामा आठ लाख ६७ हजार सात सय ४७ र सबैभन्दा कम पर्सामा छ लाख ५४ हजार चार सय ७१ रहेका उल्लेख छ । त्यसैगरी तालिकामा बढी जनसङ्ख्या क्रममा धनुषापछि सर्लाही, रौतहट, बारा, सिरहा, महोत्तरी र सप्तरी छन् । कार्यक्रम राष्ट्रिय तथ्याङ्क कार्यालयका उपप्रमुख मुनिकुमारी चौधरीको अध्यक्षतामा सम्पन्न भएको हो । |
null |
मधेसका मुख्यमन्त्री यादवले पाए विश्वासको मत काठमाडौं। मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सबै प्रदेश सभा सदस्यको विश्वासको मत पाएका छन्।
यही जेठको १ गते समर्थन फिर्ता लिँदै नेकपा एमाले सरकारबाट बाहिरिएपछि आज मंगलबार संसद्को आकस्मिक बैठकमा मुख्यमन्त्री यादवले प्रदेश सभामा उपस्थित एक सय तीन जना सांसदकै मत पाएका हुन् । उनलाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित सदनका सबै दल र स्वतन्त्र सांसदले विश्वासको मत दिएका छन्।
यसअघि पहिलो पटक मुख्यमन्त्री यादवले माघ ४ गते प्रदेश सभामा सबै सांसदको मत पाएका थिए ।
प्रदेश सभामा एमालेका २३, कांग्रेसका २२, जसपाका १८, जनमतका १३, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र माओवादी केन्द्रका नौ\नौ, एकीकृत समाजवादीका सात सांसद छन् भने नेपाल सङ्घीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नागरिक उन्मुक्ति पार्टी (नाउपा) का एक\एक जना सांसद छन् । यस्तै ३ जना स्वतन्त्र सांसद छन् ।
|
सुदूरपश्चिम प्रदेशसभा : सरकारको नीति तथा कार्यक्रम पारित सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।
नीति तथा कार्यक्रममाथिको छलफल सकिएपछि सभामुख भीमबहादुर भण्डारीले बैठकमा निर्णयार्थ पेश गर्दा बहुमतले पारित भएको हो । यसअघि मुख्यमन्त्री कमलबहादुर शाहले नीति तथा कार्यक्रममाथि छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै प्रदेश बनाउने सवालमा सबैसँग हातेमालो गरी अगाडि बढ्न सरकार तयार रहेको बताए ।
उनले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, ऊर्जालाई प्राथमिकतामा राखेर सोही बमोजिमको वार्षिक बजेट तुर्जमा भइरहेको जानकारी दिए । उनले विगतको सरकारले ल्याएका कतिपय असल अभ्यास एवं कार्यक्रमलाई सरकारले आफ्नो नीति कार्यक्रममा समावेश गरेको बताए ।
बैठकको प्रारम्भमा नीति कार्यक्रममाथि भएको छलफलमा प्रदेशसभा सदस्य जानकीदेवी कुँवर, जानकीदेवी ऐर बम, टीका थापा, देवानसिंह विष्ट, हिरा सार्की, बेलबहादुर रानामगर, गीताकुमारी चौधरीले भाग लिएका थिए । |
४५ वर्षभन्दा अगाडि लेखिएको पुस्तक विमोचन भक्तपुर । ४५ वर्ष भन्दा बढी वर्ष अगाडि लेखिएको एउटा पुस्तक मंगलबार भक्तपुरमा विमोचन गरिएको छ । वरिष्ठ साहित्यकार हरिबहादुर श्रेष्ठद्वारा लिखित समाज विकासको एक झलक नामक पुस्तकको विमोचन गरिएको हो । लेखक हरिबहादुर श्रेष्ठ आफैँ, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, सहप्राध्यापक इतिहासविद् सत्यमोहन जोशी, पुस्तकको प्रकाशक संस्था स्रस्ता समाजका अध्यक्ष लक्ष्मणराज जोशीले संयुक्त रुपमा पुस्तक विमोचन गरेका हुन् ।
पुस्तक चार दशक भन्दा अगाडि लेखिएका विषयवस्तुको संकलन रहेको जनाइएको छ । लेखक हरिबहादुर श्रेष्ठ भारतको प्रवास जीवनमा रहँंदा लेखिएका विषयको संकलन पुस्तकमा रहेको जनाइएको छ । वरिष्ठ राजनीतिज्ञ एवं नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छें रोहितको साहित्यिक नाम हरिवहादुर श्रेष्ठ हो । उनै विजुक्छें भारतको प्रवास जीवनमा हुँंदा लेखिएका विषयवस्तुहरुको संकलन पुस्तकमा रहेको जनाइएको छ ।
कार्यक्रममा विजुक्छेंले पुस्तकको पाण्डुलिपि संकलनमा ढिलाइ भएकोले पुस्तकको प्रकाशन ढिला गरी भएको सुनाए । राजनीतिक आन्दोलनलाई सघाउ पुयाउन लेखिएका कुराहरु आजका दिनमा पनि उतिकै महत्वपूर्ण रहेकोले ढिला भए पनि पुस्तक प्रकाशित गरेको उनको भनाई थियो । किसान आन्दोलन पुस्तकमा समाज विकासका विविध विकाशक्रमहरु उल्लेख छन् । समाजको उत्पति, विकासक्रम, दास समाज, सामन्ती समाजलगायतका विविध विषय पुस्तकमा समावेश छन् ।
पुस्तक एक सय ५४ पृष्ठको रहेको छ । पुस्तकको मूल्य तीन सय राखिएको छ । पुस्तकको प्रकाशक संस्था स्रस्ता समाज रहेको छ । |
अन्तरप्रदेश चल्ने सवारीसाधनले सङ्घबाटै अनुमति लिन अनिवार्य गरिँदै काठमाडौं । अन्तरप्रदेश सञ्चालन हुने सबै सार्वजनिक सवारीसाधनले सञ्चालनका लागि आवश्यक अनुमति र परीक्षण सङ्घीय सरकारअन्तर्गतका विभागमा गर्नुपर्ने भएको छ ।
अन्तरप्रदेश सञ्चालन हुने सवारीसाधनमा बाटो इजाजतपत्र, स्तर कायम, जाँचपास, प्रदूषण परीक्षण गर्ने अधिकार सङ्घीय सरकारको भए पनि अहिलेसम्म प्रदेशले नै गर्दै आइरहेको विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुले बताए । उनका अनुसार यात्रुवाहक र मालवाहक दुवै सवारीसाधनमा यो नियम लागू गराउन लागिएको हो ।
संविधानअनुसार अन्तरप्रदेश चल्ने सवारीसाधनको व्यवस्थापन विभागको कार्यक्षेत्र भए पनि प्रदेशअन्तर्गत कार्यालयहरूले काम गर्न नछाडेको उनले बताए । कार्यालयले सेवा लिन आएका सेवाग्राहीलाई अनुमति दिइरहेको उनले जानकारी दिए । विभागले अहिले यातायात व्यवसायीलगायत सबैलाई विभागमा बोलाएरै सङ्घीय कार्यालयबाट अनुमति लिन भनेको छ । उनले भने, “सबै सरोकारवालालाई सम्झाउनका लागि अहिले परिपत्र गरिएको छ ।”
प्रदेशले सेवा दिए पनि सरकारलाई आउने राजस्व आइरहेको र नागरिकलाई पनि सजिलो भएकाले सङ्घीय कार्यालयबाटै अनुमति लिन बाध्य नगरिएको प्रवक्ता पनेरुले बताए । प्रदेशअन्तर्गतका कार्यालय सबै जिल्लामा भएकाले अहिलेसम्म सेवाग्राही पनि यातायात व्यवस्था कार्यालयमा नै गइरहेको उनले बताए । तर अन्तरप्रदेश चल्ने सवारीसाधनमा एउटाले दिएको अनुमति अर्को प्रदेशले नमान्न सक्ने हुँदा र कानूनको पालना गर्नुपर्ने हुँदा अब सङ्घले नै गर्ने उनको भनाइ छ । उनले भने, “सङ्घीयताको अभ्यासका क्रममा रहेकाले अहिलेसम्म कडाइ गरिएको थिएन ।”
विभागअन्तर्गतका कार्यालयहरू काठमाडौँको टेकु, इटहरी, हेटौँडा, बुटवल र अत्तरियामा रहेका छन् । सेवाग्राहीले यी कार्यालयबाट आवश्यक अनुमति लिनुपर्नेछ । संविधान र मन्त्रिपरिषद्बाट स्वीकृत कार्य विस्तृतीकरण प्रतिवेदन तथा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ र नियमावली, २०५४ अनुसार अन्तरप्रदेश सञ्चालन हुने यातायातको व्यवस्थापनको जिम्मेवारी सङ्घीय सरकारको रहेको छ । कानूनको उल्लङ्घन गरी सङ्घअन्तर्गतका कार्यालयबाट इजाजत नलिई सवारीसाधन सञ्चालन नगरेको पाइएमा कारबाही गरिने विभागले जनाएको छ ।
विगतमा यातायात व्यवस्था विभागअन्तर्गत रहेका यातायात व्यवस्था कार्यालय विसं २०७२ मा नयाँ संविधान लागू भएपछि प्रदेश सरकारलाई हस्तान्तरण भएको थियो । सङ्घीय सरकारअन्तर्गत चार प्रदेशमा मात्रै कार्यालय रहेका छन् । |
माइतीघरमा युवकको आत्मदाह प्रयासपछि चर्कियो आन्दोलन काठमाडौं। काठमाडौंको माइतीघर मण्डलमा एकव्यक्तिले आत्मदाह प्रयास गरेका छन्।
माइतीघर मण्डलामा मोरङ कटहरीका निरजकुमार कामतले आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका हुन् । उनलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको छ ।
केही दिनयता भइरहेको नागरिकताविहीन संघर्ष समितिले माइतीघरमा निरन्तर प्रदर्शनमा उनी सहभागी हुँदै आएको बताइएको छ । सर्वोच्च अदालतले नागरिकता विधेयक कार्यान्वयनमा रोक लगाएपछि माइतीघर मण्डलामा समितिको नेतृत्वमा प्रदर्शनसहितका आन्दोलनका कार्यक्रम हुँदै आएको थियो।
नागरिकताबिहीन संघंर्ष समितिले जन्मसिद्ध र एकल आमाका सन्तानलाई नागरिकता देउ, नक्कली राष्ट्रबाद चाहिँदैन लगाएतका नारा लगाउदै माइतिघरमा प्रदर्शन गरेका थिए । कामत नागरिकताविहीन संघर्ष समितिका केन्द्रीय उपाध्यक्ष समेत हुन्।
राज्यले नागरिकताविहीन बनाएको भन्दै उनले आफैंलाई पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेपछि प्रहरी लगाएत अन्यले पानी खन्याएका थिए । त्यस लगतै बेहोस भएका कामदलाई उपचारका लागि अस्पताल लगिएको थियो ।
पेट्रोल खन्याएर आगो लगाएका कामतलाई तत्कालै उद्धार गरी ट्रमा सेन्टरमा लगिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए। उनको अवस्था खतरामुक्त रहेको छ।
उनले आत्मदाह प्रयास गरेपछि माइतीघर मण्डलामा आन्दोलन थप चर्किएको छ ।
|
सरकारले नागरिकता नदिएको भन्दै मोरङका निरजकुमारद्वारा माइतीघरमा आत्मदाहको प्रयास काठमाडौं । एक युवकले आत्मदाहको प्रयास गरेका छन् । माइतीघर मण्डलामा मोरङ कटहरीका निरजकुमार कामतले आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका हुन् । उनलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको छ ।
केही दिनयता भइरहेको नागरिकताविहीन संघर्ष समितिले माइतीघरमा निरन्तर प्रदर्शनमा उनी सहभागी हुँदै आएको बताइएको छ । सर्वोच्च अदालतले नागरिकता विधेयक कार्यान्वयनमा रोक लगाएपछि माइतीघर मण्डलामा समितिको नेतृत्वमा प्रदर्शनसहितका आन्दोलनका कार्यक्रम हुँदै आएको थियो । |
नाबालिका बलात्कारमा ८० वर्षीय वृद्धसहित चारजनालाई १८ वर्ष कैद सजाय ओखलढुंगा । ओखलढुंगा जिल्ला अदालतले नाबालिका बलात्कारमा दोषी ठहर गर्दै ८० वर्षीय वृद्धसहित चारजनालाई १८ वर्षको कैद सजाय फैसला सुनाएको छ ।
मंगलबार जिल्ला अदालतका न्यायाधीश टीकाराम आचार्यको एकल इजलासले जबरजस्ती करणीमा सिद्धिचरण नगरपालिका–३ नारायाणथान माध्यामिक विद्यालयका प्रधानाध्यापक पूर्णप्रसाद फुयाल, ८० वर्षीय फडिन्द्रप्रसाद दाहाल, डम्बरबहादुर भुजेल र केवल भुजेललाई १८ वर्ष कैदसहित क्षतिपूर्ति र जरिवानाको फैसला सुनाएको हो ।
इजलासले सबैभन्दा बढी प्राध्यानाध्यक फुयाललाई १ लाख ५० हजार क्षतिपूर्ति र अन्य तीन जनालाई ५० हजार रुपैयाँको दरले क्षतिपूर्ति तोकेको छ भने ६ लाखको दरले जरिवाना गरिएको छ ।
१२ वर्षीया नाबालिकालाई फरक–फरक स्थान र समयमा जबर्जस्ती करणी गरेको अभियोगमा २३ असार २०७९ मा मुद्दा दर्ता भएको थियो । जसको मंगलबार अन्तिम फैसला भएको हो । |
‘लुम्बिनीमा पर्यटक छन्, पर्यटन छैन’ लुम्बिनी। “पसलमा राखिएका हस्तकलाका सामग्रीहरु बिक्री नभएको २० दिन बितेको छ”, लुम्बिनी बसपार्कस्थित सिद्धार्थ ह्यान्डी क्राफ्टसका सञ्चालक विष्णुबहादुर बस्नेतले भन्छन्, “वैकल्पिक व्यवसाय पनि छैन, गुजारा चलाउनै गाह्रो छ ।” व्यवसायको आम्दानीबाट बिजुली, पानी र सटरभाडाको जोहोसमेत गर्न नसकेको उनले दुःखेसो पोखे ।
पिन्टुलाल बनियालाई पनि होटेल ग्रिन लुम्बिनी भ्यू कसरी सञ्चालन गर्ने भन्ने चिन्ताले सताएको छ । “रु पाँच करोडको लागतमा आठ वर्षअघि निर्माण गरेको होटेलले आम्दानीले खर्च धान्न छाडेको छ, लगानी त परै जाओस् सञ्चालन खर्च समेत धान्न गाह्रो छ’’, उनले भने, ‘‘मौसमी कमाईले वर्ष दिन धान्नुपर्ने बाध्यता छ ।” यही अवस्था रहेमा होटल बन्द गर्नुबाहेक उनले अर्को विकल्प देख्नु भएको छैन ।
केही समययता देखिएको आर्थिक मन्दीको असर धेरैतिर परेको अर्का व्यवसायी अब्दुल मोबिन बताउँछन् । “केन्द्रीय नहरमा डुङ्गा चलाउन ठेक्का लिएकै वर्ष कोरोनाले थला पारेको व्यवसाय सुध्रन दुई वर्ष कुर्नुपर्यो” ठेकेदार (डुङ्गा सञ्चालक) अब्दुल मोबिन मुसलमानलले भने, “अवस्था सुधारात्मक छ,, पर्यटकको सङ्ख्या पनि बढ्दो छ तर दुई वर्षको घाटा पूर्तिको विकल्प छैन ।”
लुम्बिनीमा प्रतिवर्ष हजारौं तीर्थयात्री धार्मिक पूजा–अर्चना तथा अध्यात्म पाठ गर्न आउँछन् । ठेकेदार मुसलमानलले भने, “संसारभरका बुद्धमार्गीहरुका लागि पवित्र गन्तव्य लुम्बिनीभित्र प्रवेश, बहिर्गमन मार्ग र ब्यवसाय स्थलको तालमेल नमिल्दा लाभ लिन सकिएको छैन ।”
सन् २०२३ को जनवरीदेखि मे महिनासम्म कूल चार लाख ७० हजार पाँच सय ४२ पर्यटक लुम्बिनी भित्रिएका छन् । गत वर्ष सन् २०२२ को यसै पाँच महिनामा तीन लाख ६२ हजार ५६ जनाले लुम्बिनी भ्रमण गरेका थिए । यसरी गत वर्षको भन्दा यस वर्षको सङ्ख्या एक लाख आठ हजार चार सय ८६ ले बढी रहेको तथ्याङ्क छ ।
“लुम्बिनीमा पर्यटकको सङ्ख्या उल्लेख्य मात्रामा बढे पनि व्यापार भने बढ्न सकेको छैन,” लुम्बिनी पर्यटन व्यवसायी सङ्घका अध्यक्ष ५८ वर्षीय हुसेनी लोधले भने, “लुम्बिनीको प्रमुख पर्यटकीय गन्तव्य बुद्ध जन्मस्थल (मायादेवी मन्दिर) देखि बसपार्क छेउमा रहेको हाम्रो व्यवसाय स्थलको दूरी झण्डै दुई किमी छ, जुन त्यसै पनि व्यवसायका लागि हितकर छैन ।”
लुम्बिनी घुम्न आउने जो सुकैले कम्तीमा एकपटक मायदेवी मन्दिर पस्ने नै भएकाले पर्यटन व्यवसायीलाई सोही नजिक व्यवसाय सञ्चालन गर्न पुनः व्यवस्था मिलाउनु पर्ने उनको माग छ । अहिलेको व्यवसाय स्थल र पर्यटकको सम्बन्ध व्यावहारिक नरहेको उनको भनाइ छ ।
“विसं २०६९ अघि मायादेवी मन्दिर नजिक सञ्चालनमा रहेका पर्यटन व्यवसाय राम्रै चलेको थियो तर त्यसपछि सञ्चालनमा सहज भएको छैन” अध्यक्ष लोधले भने ।
लुम्बिनी विकास कोषले २०६९ सालमा व्यवसायीको सङ्ख्या ३४ बाट बढाएर ७० पुर्याई बसपार्क छेउमा ल्याएर राखेपछि नै व्यवसाय बिग्रिएको हो ।” लोधले भने “२०६९ सालदेखि हामी पिडित छांै, पछिल्लो दुई वर्ष त कोरोनाले भ्यायो । पहिला मायादेवी मन्दिर नजिकको ठाउँमा दैनिक रु पाँच हजारसम्म व्यापार हुन्थ्यो, अहिले शून्य छ ।” “पर्यटक नै नहुने ठाउँमा घाटाको व्यवसाय गर्नुको कुनै औचित्य नरहेको उनको भनाइ छ ।
लुम्बिनीका व्यवसायीहरुले यहाँ भ्रमणमा आउने भारतीय पर्यटकहरुबाट खासै लाभ लिन सकेका छैनन् । भारतीय ट्राभल एजेन्सी र टुर गाइडहरु पर्यटकहरुलाई सिधै गाडीबाट ल्याउने र दुई÷तीन घण्टा घुमाएर पुनः स्वदेश फर्काउने गरेकाले यहाँका व्यवसायीले सोचेअनुरुप लाभ लिन नसकेका हुन् ।
“पर्यटकहरु हुर्रर आउँछन्, मायादेवी मन्दिर दर्शन गर्छन्, फोटो खिच्छन् र उही दिन फर्किहाल्छन्,” लुम्बिनी होटेल सङ्घका अध्यक्ष गोविन्द ज्ञवाली भन्छन्, “यसरी लुम्बिनी आउने पर्यटकको हुल हेर्ने र सङ्ख्या गनेर बस्ने मात्रै भयौं, व्यवसायमा सुधार हुन सकेन ।”
लुम्बिनी होटेल सङ्घका अध्यक्ष ज्ञवाली लुम्बिनी घुम्न आउने पर्यटकको बसाइँ लम्बाउने योजना र वातावरण मिलाउन नेपाल सरकार र लुम्बिनी विकास कोषसँग आग्रह गर्छन् ।
कम्तीमा एक रात मात्रै बास बसाल्ने वातावरण बनाउन सके पनि धेरै लाभ हुने उहाँको तर्क छ । “भारतीय ट्राभल एजेन्सी र टुर गाइडको भर पर्दा यहाँ भारतीय पर्यटक बस्ने वातावरण नबनेको हो,” अध्यक्ष ज्ञवालीले भने, “त्यसैले बेलहिया आइसकेपछि नेपाली टुर गाइडमार्फत भ्रमण नगराउँदासम्म यहाँ पर्यटकलाई एक रात पनि अडाउन सकिन्न ।”
यसैगरी लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार डा तिलक आचार्यले बुद्ध जन्मस्थल लुम्बिनीलाई बुद्धको जीवनीसँग सम्बन्धित तिलौराकोट, रामग्राम र देवदहलाई जोडेर वृहत् अध्यात्मिक केन्द्र र शान्ति शहरको रुपमा विकास गर्न सके पर्यटकको बसाइँ लम्ब्याउन सकिने र व्यवसायीले पनि लाभ लिन सक्ने बताए।
उनले भने, “पर्यटकका लागि अत्यावश्यक सामग्रीको सहज उपलब्धता, शान्ति र सुरक्षाको प्रत्याभूति तथा आनन्दको अनुभूति दिने खालका अध्यात्मिक वातावरण तथा सोही अनुकूल भौतिक पूर्वाधार सिर्जना गर्न सकियो भने पर्यटन व्यवसाय वृद्धि हुने निश्चित छ ।”
“आन्तरिक र वाह्य दुवै पर्यटकलाई लुम्बिनी आउँदा धेरै दिन भुलाउन मिल्ने छुट्टै अध्यात्मिक वातावरण र भौतिक पूर्वाधार चाहिन्छ” लुम्बिनी सांस्कृतिक नगरपालिकाका पूर्व प्रमुख मनमोहन चौधरीले भने, “लुम्बिनीको बृहत्तर विकासका लागि यस क्षेत्रका अन्य महत्वपूर्ण पर्यटकीय स्थललाई समेत जोडेर ‘टुर प्याकेज’ बनाउन सक्नुपर्छ ।”
उनले बौद्धमार्गी भएका विश्वका ३० भन्दा बढी देशमध्ये सम्भव भएका देशहरुमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधा उडान भरेर धेरै पैसा खर्च गर्न सक्ने गुणस्तरीय पर्यटक तान्न सरकारी पहलको खाँचो औंल्याए।
लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्री सन्तोष पाण्डेयले लुम्बिनीमा पर्यटकको बसाइँ लम्ब्याउन तीनै तहका सरकारबीच सहकार्य भइरहेको बताउँछन्। लुम्बिनी आउने पर्यटकलाई लुम्बिनी वरपरका पुरातात्विक तथा धार्मिक स्थल अवलोकन गराउने वातावरण मिलाउनुपर्ने उनको भनाइ छ ।
भगवान गौतम बुद्धसँग सम्बन्धित ठाउँहरुमध्ये अन्यत्र भन्दा फरक लुम्बिनीको पहिचान र चिनारी राम्रोसँग दिन सक्यौं भने मात्रै पर्यटक रमाउने र खर्च गर्ने पूर्ब नगरप्रमुख मनमोहन चौधरीले बताउँछन् ।
भारतको बोधगया, कुसीनगर, सारनाथ, अयोध्या, हरिद्वार र बनारसलगायतका सहरमा लुम्बिनीको बजारीकरण गरेर यहाँको पर्यटन प्रवद्र्धन गर्न सकिने उनको भनाइ छ ।
उनले सरकारी निकायले लुम्बिनीको महत्वलाई अझ् गहिरोसँग बुझन् आवश्यक रहेको बताए। उनले लुम्बिनी एक÷दुई दिन घुमेर पुग्ने ठाउँ होइन, लुम्बिनी आउने कुनै पनि देशका पर्यटकले लुम्बिनी घुम्न र बुझ्न समय लाग्ने बताए ।
उनले भने ‘‘लुम्बिनी विश्वकै अति महत्वपूर्ण, पवित्र र अलौकिक स्थल हो यसको भ्रमण गर्न जो सुकैका लागि कम्तीमा पनि एक हप्ता चाहिन्छ ।”
लुम्बिनी विकास कोषका सूचना अधिकृत हरिध्वज राईले पर्यटकीय विभिन्न सम्पदाहरुको निर्माणका कार्यहरु भइरहेकाले विस्तारै पर्यटकहरुको आकर्षण बढ्ने बताए। उनी यसको लागि तीनै तहका सरकार, निजी व्यवसायीको सहकार्यमा उनको जोड छ ।
सूचना अधिकृत राईका अनुसार लुम्बिनी भ्रमणमा आउने अधिकांश आन्तरिक पर्यटकको बसाइँ एक दिनको पनि नभएको तर तेस्रो मुलुकका पर्यटकको बसाइँ अवधि विगतभन्दा बढ्दै गएर औसतमा १.८८ दिन पुगेको छ । कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी (भिक्षु मेत्तेय)ले लुम्बिनीमा पर्यटक सङ्ख्यामा वृद्धि हुनुले विश्व समुदायमा विस्तारै लुम्बिनीको प्रचारप्रसार बढ्दै गएको बताउँछन्।
राम विकास चौधरी\रासस |
कानुन नहुँदा सञ्चालनमा आएनन् लुम्बिनीका विद्युतीय सवारी रुपन्देही । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलदेखि गौतम बुद्धको जन्मस्थल लुम्बिनी, तिलौराकोट, रामग्राम र देवदहलगायतका क्षेत्रमा सञ्चालन गर्ने गरी ल्याइएका विद्युतीय बस सञ्चालनमा अन्योलता देखिएको छ । बुद्धसँग सम्बन्धित यी क्षेत्रमा पर्यटक आवतजावतलाई सहज बनाउन दातृ निकायको अनुदानमा विद्युतीय सवारी ल्याइएको थियो ।
लुम्बिनी प्रदेश सरकारले गत वैशाख ८ गते लुम्बिनी विकास कोषलाई प्राप्त पाँच विद्युतीय बस र १४ भ्यानलाई सेतो नम्बर प्लेटबाट हरियो नम्बर प्लेटमा रुपान्तरण गरी सेवा प्रदान स्वीकृति प्रदान गर्ने निर्णय गरेको थियो । तर यातायात व्यवस्था कार्यालय लुम्बिनीले सङ्घ र प्रदेशमा यससम्बन्धी कानुन नभएको बताउँदै सवारीसाधन दर्ता नै रोकेको छ । प्रदेश सरकारको निर्णयअनुसार प्रक्रिया पूरा गरी दर्ता प्रक्रियामा गए पनि यातायात कार्यालयबाट काम हुन नसकेको लुम्बिनी विकास कोषको भनाइ छ ।
मन्त्रिपरिषदले निर्णय गरेपनि ऐन र कार्यविधि नहुँदा सञ्चालन गर्न समस्या भएको यातायात व्यवस्था कार्यालय (सवारी) लुम्बिनीका प्रमुख पुष्पराज पाण्डेको भनाइ छ । सङ्घ र प्रदेशमा सरकारी सेतो नम्बर प्लेटबाट हरियो नम्बर प्लेटमा रुपान्तरण गर्नेसम्बन्धी ऐन र कार्यविधि नहुँदा प्रक्रिया अघि बढाउन नसकेकाले सङ्घीय सरकारको रायका लागि पत्राचार गरेको पाण्डेले जानकारी दिए ।
“सङ्घमा र प्रदेशमा यससम्बन्धी कुनै कानुन छैन । यस्तो अवस्थामा कसरी प्रक्रिया अघि बढाउने ?”, उनले प्रश्न गरे । हाल पत्रमार्फत प्रचलित ऐन, नियमावली, कार्यविधि, निर्देशिका, प्रदेश यातायात परिवहन नियमावलीमा समेत सो व्यवस्था नभएकोले उक्त सवारी सरकारी सेतो नम्बर प्लेटबाट हरियो नम्बर प्लेटमा रुपान्तरण गर्ने सम्बन्धमा आवश्यक स्पष्ट मार्गदर्शन मागिएको छ । यसको बोधार्थ उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय प्रदेशलाई पठाइएको छ । तर मन्त्रालयले भने यसबारे आधिकारिक जानकारी नभएको जनाएको छ ।
उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्थीले मन्त्रिपरिषद्ले निर्णय गरेपछि सम्बन्धित कार्यालयले निर्णय कार्यान्वयन गर्नुपर्ने बताए । “ऐन नभए पनि बाधा अड्काउ फुकाउने निर्णय सरकारले गरिसकेको छ । सरकारले नै निर्णय गरेर प्रक्रिया अघि बढाउन भनेपछि यातायात व्यवस्था कार्यालयले सोही अनुसार कामअघि बढाउनुपर्छ, सरकारको निर्णयलाई पालना गर्नु नै सम्बन्धित कार्यालयको जिम्मेवारी हो”, उनले भने ।
कानुनी प्रक्रिया पु¥याएपछि प्रदेश सरकारले बस सञ्चालनको अनुमति दिने निर्णय गरेको र यातायात व्यवस्था कार्यालयका केही कर्मचारीकै कारण दर्ता प्रक्रियामा अनावश्यक अवरोध सिर्जना भएको लुम्बिनी विकास कोषको भनाइ छ ।
यातायात व्यवस्था कार्यालयले पत्राचार गरेको विषयमा यातायात विभाग काठमाडौँमा कुरा गर्दा प्रदेश सरकारले निर्णय गरेपछि यातायात कार्यालयले काम अघि बढाउन मिल्ने जवाफ आएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईको भनाइ छ ।
एसियाली विकास बैंक (एडिबी)को अनुदान सहयोगमा क्लिन इनर्जी प्रोजेक्टअन्तर्गत रु १३ करोडमा लुम्बिनी विकास कोषलाई विद्युतीय सवारी प्राप्त भएका हुन् । लुम्बिनीलाई प्रदूषणमुक्तबनाउन विसं २०७७ मङ्सिर ९ गते यी विद्युतीय बस र ट्याक्सी लुम्बिनी ल्याइएको थियो । सवारी साधन चार्जिङका लागि लुम्बिनीमा चार्जिङ स्टेसन समेत निर्माण भइसकेको छ । रासस |
भरतपुर महानगर प्रमुख दाहालद्वारा स्वास्थ्य चौकीसहित ४ वटा भवनको उद्घाटन चितवन । भरतपुर महानगरपालिकामा गाँउ–टोलमै सहज स्वास्थ्य सेवा पुर्याउने अभियान तीब्र पारिएको छ ।
जिल्ला सदारमुकाम भरतपुरमा भएपनि महानगरको ग्रामिण भेगका जनतालाई लक्ष्ति गरी सजह स्वास्थ्य सेवा पुर्याउने अभियान तीब्र पारिएको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बताइन्।
महानगरमा २९ वटा वडा रहेपनि ४ वटा वडामा मात्रै ठुलो अस्पताल मेडिकल कलेज रहेका छन् । निर्वाचन अभियानको क्रममा गाँउ टोलमै सजह स्वास्थ्य सेवा दिने लक्ष्य अनुसार स्वास्थ्य केन्द्रहरु स्थापना गरी सेवा दिँदै आएको छ ।
महानगरभित्रको विपन्न समुदाय लक्षित वडाहरुमा पहिलो चरणमा २० वटा स्वास्थ्य केन्द्र स्थापना गरी सेवा सुरु गरेको जानकारी दिँदै भरतपुरमा एक वडा एक अत्याधुनिक स्वास्थ्य केन्द्र पुराईने प्रमुख दाहालले बताइन्।
सोही अभियान अन्र्तगत मंगलबार महानगरपालिकाको वडा नम्बर २४ मा धुब्र आधारभूत स्वास्थ्य केन्द्रको उद्घाटन गरिएको छ ।
यो सँगै भरतपुर २४ का स्थानीयहरु प्राथामिक उपचार गर्न सदारमुकाम तथा अन्य वडा जाने समस्या हटेको छ ।
यसअघि यहाँका स्थानीयहरु छिमेकी वडा शिवनगर तथा भरतपुर अस्पताल आउने पर्ने आवस्था थियो । यस अस्पताललाई थप स्तरोन्ति गरी स्वास्थ्य सेवालाई विस्तार गर्ने लक्ष्य लिइएको छ ।
महानगरपालिका प्रमुख दाहालले संघीयताको मर्मानुसार जनताको घर–घरमा स्वास्थ्य सेवा उपलब्ध गराउने अभियान सञ्चालन गरिएको बताइन्।
उनले भरतपुर २४ लाई दिगो विकास गर्ने लक्ष्यसहित पूर्वाधार विकाससँगै सिँचाई, कृषि फर्मलाई अनुदानमा यन्त्र उपकरण, पर्यटकीय स्थलको स्तरोन्ति, मेसजाली फाउण्डेशन, पशु चिकित्सालयलगायतका धेरै काम भएको उल्लेख गरिन्।
भरतपुर २४ का रहेका भूमिहिन सुकुम्बासीलाई एक महिनाभित्रे लालपुर्जा उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरिन्। लालपुर्जा वितरण गर्ने काम तीब्र रुपमा अगाडि बढाईएको उनको भनाई छ ।
यसै बीच भरतपुर २४ कै छेथरलिङ वौद्ध गुम्बा संग्राहलय भवन, जनपथ क्लबको भवन र एकता सार्की समाजको भवनको पनि महानगर प्रमुख दाहालले उद्घाटन गरिन्।
कार्यक्रमलाई सम्बोधन गर्दै महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमार रानाले जनताको सानाभन्दा साना समस्या सम्बोधन गर्न महानगरपालिकाले नीति तथा कार्यक्रम ल्याएको उल्लेख गरिन्।
कार्यक्रम भरतपुर महानगरपालिका वडा नम्बर २४ का वडा अध्यक्ष रामु गोदारको अध्यक्षतामा सम्पन्न भएको थियो । |
धवलागिरि गाउँपालिकाले सुरु गर्यो ‘दीर्घरोगीका घर घरमा अध्यक्ष’ कार्यक्रम म्याग्दी। म्याग्दीको धवलागिरि गाउँपालिकाले ‘दीर्घरोगीको घरघरमा अध्यक्ष’ कार्यक्रम सुरु गरेको छ ।
दीर्घरोगीको अवस्था पहिचान र उनीहरूको औषधोपचारमा सघाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो । भौगोलिकरूपमा अत्यन्त विकट रहेको धवलागिरि–१ स्थित गुर्जाबाट गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर पुनले सो अभियानको शुभारम्भ गरेका हुन्।
सो अवसरमा उनले दीर्घरोगीलाई घरदैलोमै पुगेर औषधोपचारको व्यवस्था मिलाउन कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए।
कार्यक्रममार्फत सबै वडा र बस्तीबाट नियमित औषधि सेवन गरिरहेका दीर्घरोगीको विवरण संकलन गरिएको छ । नियमित औषधि सेवन गर्ने विवरण संकलन गरेर सातवटै वडामा घरभेट गर्ने कार्यक्रमअनुसार वडा नं १ गुर्जामा दीर्घरोगीसँग भेटघाट गरिएको उनले बताए।
गुर्जामा छजना दीर्घरोगी पहिचान भएका गाउँपालिकाले स्वास्थ्य शाखाका सहसंयोजक अनिषा आचार्यले बताइन्।
सबै वडामा दीर्घरोगीले सेवन गर्ने औषधिको विवरण संकलन गरेर औषधि उपलब्ध गराउने योजना गाउँपालिकाको छ।
सो कार्यक्रम कार्यान्वयन गर्न गाउँपालिकाले चालु आवमा रु २० लाख बजेट विनियोजन गरेको जनाइएको छ ।
यो पनि पढ्नुस्
धवलागिरिका गर्भवती र सुत्केरीलाई घीउ र अण्डा |
गण्डकी सरकारले गाँजाखेतीको सम्भाव्यता अध्ययन गर्ने पोखरा। गण्डकी प्रदेश सरकारले गाँजाखेतीको सम्भाव्यता अध्ययन गर्ने भएको छ । गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममा औषधिजन्य तथा उद्योगजन्य कच्चापदार्थ उत्पादन प्रयोजनका लागि गाँजाखेतीको सम्भाव्यता अध्ययन गरी आवश्यक कानुनी व्यवस्था गरिने उल्लेख छ।
सरकारले भाँगो, टुसा, निउरो, सिन्की, बाँको, टिमुर, सिस्नो, सिलाम र उच्च पहाडी तथा हिमाली भेगमा हुने आलु, उवा, कोदो, काउनो, फापर, जौ लगायतका उत्पादनलाई ब्राण्डिङ तथा बजारीकरणमा प्रोत्साहन गरिने नीति लिएको छ।
भूमिको उत्पादनशीलता अभिवृद्धि गर्न जग्गाको वर्गीकरण, चक्लाबन्दी, यान्त्रिकीकरण, व्यवसायीकरणमा जोड दिइने उल्लेख गर्दै नीति तथा कार्यक्रममा उत्पादनको दिगोपना र निरन्तरताको लागि उत्पादनसँग अनुदानको आबद्धता कायम गर्दै लगिने भनिएको छ।
‘एक निर्वाचन क्षेत्र, एक प्रविधिमैत्री स्मार्ट कृषि फर्म’को अवधारणा विकास गरी आवश्यक पूर्वाधारसहित सामूहिक कृषि विकास कार्यक्रम सञ्चालन गरिने सरकारको योजना छ । प्रदेशस्थित अनुसन्धानका निकायसँगको समन्वयमा कृषि क्षेत्रको टड्कारो समस्याका रूपमा रहेका विषयमा कार्यात्मक अनुसन्धान गरी समाधानका उपाय पहिचान तथा प्रसार गरिने जनाइएको छ।
स्थानीयस्तरमा कृषि उपज उत्पादन गरी चिस्यान केन्द्रमा भण्डारण गर्ने किसानलाई निश्चित मापदण्डका आधारमा भण्डारण शुल्कमा सहुलियत प्रदान गर्ने व्यवस्था मिलाउने नीति तथा कार्यक्रममा उल्लेख छ।
प्रदेशमा उत्पादित कृषि उपजको बेचविखनमा संलग्न व्यवसायीलाई प्रोत्साहन गरिने भन्दै सरकारले उत्पादित कृषि उपजको बजारीकरण तथा ढुवानी व्यवस्थापनका लागि स्थानीय तहसँग आवश्यक समन्वय गर्ने नीति लिइने जनाएको छ।रासस |
पर्यटन प्रवर्द्धन गर्न राइनासमा साइकल ट्रेल निर्माण लमजुङ। लमजुङको राईनास नगरपालिकाले पर्यटन प्रवर्द्धनका साइकल ट्रेलसहितको पदमार्ग निर्माण गरेको छ। राइनास नगरपालिकाको वाड ९ र १० को गौरबको योजना अन्तर्गत स्थानीयको जिबनस्तरलाइ उकास्न पर्यटक लक्षित साइकल ट्रेलको निर्माण गरेको हो।
वडा नं. ९ र १० लाई जोड्ने गरी निमार्ण गरिएको साइकल ट्रेल तथा पदमार्गको औपचारिक उद्घाटन गरिएको छ। आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धनका निम्ती आकर्षण थप्दै साइकल यात्रा सहित नगरप्रमुख खड्ग बहादुर गुरुङले उक्त साईकल ट्रेलको उद्घाटन गरेका हुन्।
साइकल ट्रेल औपचारिक उद्घाटनका अवसरमा लमजुङ र अन्यत्र जिल्लाका गरी २१ जनाले साईकल यात्रा गरेका थिए। साइकल यात्रीहरुले राईनास वडा नं. १० को प्यारजुंग भन्ज्याङदेखि जोगिगुफा, साल्मेकोट लामागाउँ, गोरखनाथ मन्दिर, कोकेगाउ, घुरसापे, दरबारगढी, पात्लेपानी, राइनासकोट हुदै सिद्ध गुफा भएर भक्ति थापा पार्क मोहोरियाकोट सम्म साइकल यात्रा गरेका थिए।
राइनासको पर्यटन प्रवद्र्धनमा थप टेवा पुर्याउने लक्ष्य सहित नगरपालिकाले भक्तिपार्क देखि प्यारजुङ भञ्ज्याङ सम्म साइकल ट्रेल तथा पदमार्ग निर्माण गरेको हो। उक्त ट्रेल तथा पदमार्ग निर्माणलाई चालु आर्थिक वर्षको गौरवको योजनाको रुपमा लिइएको छ।
राइनास नगरपालिका वडा नं. ९ को १० लाख र वडा नं १० को ६ लाख गरि १६ लाख रुपैयाको लागतमा ट्रेल तथा पदमार्ग निर्माण भएको हो। साइकल ट्रेल र पदमार्ग निमार्णमा स्थानियको १० प्रतिशत जनश्रमदान रहेको छ। सो क्षेत्रका धार्मीक, पर्यटकीय तथा ऐतिहासीक स्थलहरुको प्रवर्दन तथा संरक्षणका निम्ति ट्रेल तथा पदमार्ग निर्माण गरिएको राईनास नगरपालिका प्रमुख खड्गबहादुर गुरुङले बताए।
साइकल ट्रेल र पदमार्ग निमार्ण समितिका अध्यक्ष धुव्र गुरुङले लमजुङमा पर्यटन प्रवद्र्धनमा नयाँ कामको थालनी भएको भन्दै यसले राइनासको मात्र नभई सिंगो लमजुङको पर्यटनमा प्रवद्र्धन हुने बताए।
राइनास ९ को भक्ती थापा पार्क देखि, राइनासकोट, हुँदै वडा नं १० को पात्लेपानी ऐतिहासीक दरबार, कोकोगाउँको गोरखनाथ मन्दिर, लामा गाउँको साल्मेकोट जोगी गुफा, क्याभ्रे भञ्ज्याङ हुँदै प्यारजुङ भञ्ज्याङ सम्म करिव ६ किलोमिटर साइकल ट्रेल तथा पदमार्ग निर्माण गरिएको नगरपालिकाले जनाएको छ। |
चितवनका बासिन्दा अझै पनि टुकी बत्तीको भरमा बस्न बाध्य! चितवन। तपाईँलाई पत्यार नलाग्न सक्छ ! चितवनका बासिन्दा अझै पनि टुकी बत्तीको भरमा बस्न बाध्य छन् । किनकि चितवन सुगम जिल्ला भनेर परिचित छ। तर चितवनको एकमात्र गाउँपालिका इच्छाकामनाको पहाडी दुर्गम बस्तीका स्थानीयले अझै विद्युत उपयोग गर्न पाएका छैनन् ।
इच्छाकामना गाउँपालिकाको वडा नं १ र २ का लागि चार वर्षअघि ठेक्का लागे पनि ठेकेदारले काम नगरेपछि यहाँका स्थानीय विद्युत् सेवाबाट बञ्चित हुन पुगेका हुन् । गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङका अनुसार चार वर्षअघि ठेक्का लागे पनि ठेकेदार कम्पनीले काम नगर्दा विद्युत् सेवा विस्तार गर्न ढिला भएको हो ।
उनका अनुसार विद्युतीकरणका लागि वडा नम्बर १ र २ मा आर्थिक वर्ष २०७५/७६ मै बोलपत्र भएर पनि काम अघि बढेन । सो समयमा विद्युतीकरणका लागि ठेक्का लिएर ठेकेदार कम्पनीले समयमा काम नगरिदिँदा विद्युत् सेवा विस्तार गर्न सकेन । अहिले काम नगर्ने ठेकेदारलाई मुद्दा हालेर ठेक्का रद्द गरेर पुनः ठेक्का लगाएर काम पनि अघि बढेको अध्यक्ष गुरुङले बताए।
“काम नगर्ने ठेकदारलाई मुद्दा हालेपछि पुनः चालु वर्षमै नयाँ बोलपत्र आह्वान भयो, त्यतिखेर छ करोडको ठेक्का लागेको थियो, अहिले १४ करोडमा स्तरवृद्धि र विस्तारको काम थालनी भएको छ, अब कुनै पनि बहानामा काम रोकिँदैन, प्राधिकरणसँगको समन्वयमा काम भइरहेको छ”, अध्यक्ष गुरुङले भने।
चालु आवको दोस्रो चौमासिकभित्रै ठेक्का प्रक्रिया टुङ्गिएर नयाँ ठेकेदारले जिम्मा लिएपछि अहिले विद्युत् सेवा पुग्न बाँकी गाउँमा धमाधम विद्युतीकरणको काम सुरु भएको उनले बताए।
गाउँपालिकामा समग्रमा ५५ प्रतिशत घरमा मात्र विद्युत् पुगेको छ। अध्यक्ष गुरुङका अनुसार वडा नं ३, ४ र ५ को ९० प्रतिशत घरमा बिजुली पुगिसकेको छ ।
तर, पहाडी क्षेत्र अधिक रहेको वडा नं १ मा १५ प्रतिशत, ६ मा ५० प्रतिशत घरमा मात्र बिजुली पुगेको छ । वडा नं २ मा कुनै पनि ठाउँमा बिजुली छैन। विद्युतीकरणको क्रममा केही समयअघि पर्यटकीय एवं ऐतिहासिक क्षेत्र उपरदाङगढीमा बिजुली बलेसँगै वडा नंं ७ को भने सबै ठाउँमा बिजुली पुगिसकेको उनले बताए।
वडा नं २ मा विद्युत् विस्तारका लागि पोल पुगेपछि स्थानीयमा आशा भने पलाएको छ । “चार वर्षअघि नै ठेक्का आह्वान भएको सुनेका थिएँ, काम सुरु नहुँदा आश नै मरेको थियो, तर अहिले घरको आँगनमै पोल झरेपछि आशा पलाएको छ”, स्थानीय टीका गुरुङले भने।
यस्तै यतिबेला टोलटोलमा बिजुली पोल ढुवानीको काम भइरहेको इच्छाकामना–२ का वडाध्यक्ष पञ्चबहादुर चेपाङले बताए। यहाँका सबै टोलटोलमा सडक पुगे पनि बिजुली बाल्नबाट यहाँका स्थानीय बञ्चित भएको उहाँको भनाइ छ । अब भने बिजुली बल्नेमा ढुक्क भएको उनको भनाइ छ ।
अहिले नेपाल विद्युत् प्राधिकरणसँगको समन्वयमा काम भइरहेकाले पोल र तार प्राधिकरणले नै खरिद गरेर पठाएको तथा पोल गाड्ने र तार टाँङ्ने काम ठेकेदार पक्षले गर्ने भएको गाउँपालिका अध्यक्ष गुरुङले बताए।
इच्छाकामनाको सबैै वडामा विद्युत् विस्तार र स्तरवृद्धिको काम हुनलागेको हो । अध्यक्ष गुरुङका अनुसार काममा कुनै अवरोध नभएमा आगामी आर्थिक वर्षभित्रै इच्छाकामनाका सबै स्थानमा विद्युत् पुग्नेछ । गाउँपालिकाले विद्युतीकरणसँगै विपन्न समुदायको नागरिकको घरमा निःशुल्क विद्युत् मिटरसमेत जडान गर्दै आएका छन् ।
साथै सामथ्र्य उच्च बनाउनका लागि गाउँपालिकामै ‘सबस्टेशन’ राख्नका लागि पनि पहल भइरहेको उनले जानकारी दिए। गाउँपालिकामै ‘सबस्टेशन’ बनाएर गोरखाबाट लाइन जोडेपछि चौबीसै घन्टा विद्युत्मा पहुँच हुने उनको भनाइ छ।रासस |
झोलुंगे पुलले फेरियो दैनिकी ढोरपाटन। पश्चिम बागलुङको व्यापारिक केन्द्र बुर्तिबाङ बजार नजिकै एउटा अग्लो र लामो झोलुंगे पुल बनेको छ। त्यो पुलमा वारपार गर्ने स्थानीयभन्दा फोटो, भिडियो खिच्ने र रमाउने संख्या धेरै देखिन्छ।
तमानखोलामाथि बिसमर र घोँसाखानी गाउँलाई जोड्ने गरी निर्माण भएको यो पुल अहिले आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको छ। पुलमा दैनिक दुई सय बढी आन्तरिक पर्यटकले वारपार गर्ने गरेका छन्। स्थानीयले घाँस, दाउरा ल्याउन र बारीमा काम गर्न वारपारका लागि निर्माण गरिएको पुलमा पर्यटकको घुइँचो लाग्न थालेपछि स्थानीय पनि हर्षित बनेका छन्।
बुर्तिबाङ–बोंगादोभान सडकखण्डको माथिपट्टि निर्माण भएको पुलले यात्रुलाई समेत आकर्षित गर्ने गरेको छ। गत वर्षसम्म वारपार गर्दा सास्ती भोग्दै आएका स्थानीयलाई यो पुल वरदान सावित भएको छ। वारि गाउँ र पारि खेतीयोग्य जमिन हुँदा स्थानीय वारपारमा निकै समस्या थियो।
गत पुसमा निर्माण सुरु भएको पुल दुई महिनामै सम्पन्न भई चैतदेखि सञ्चालनमा आएको हो। पुल दुई सय ४३ मिटर लामो छ। पुल नबन्दा खोला वारपार गर्न करिब एक घण्टा लाग्ने गरेकामा अहिले तीन मिनेटमै आउजाउ गर्न सकिन्छ। पुल निर्माणपछि ढोरपाटन नगरपालिका–३ को पुर्कोट, घोँसाखानी, सामा, बिसमरलगायतका गाउँका हजारौँ नागरिकलाई सहज भएको छ।
आफ्नो बारी खोलापारि र घरवारिपट्टि हुँदा काम गर्न जाँदा पनि धेरै समय लगाउनुपर्ने बाध्यता पुल निर्माण भएपछि टरेको स्थानीय तिलकुमारी कुँवरले बताए। हिउँदको समय जसोतसो खोला वारपार गरेर काम गरे पनि बर्खामा निकै समस्या भोग्दै आएको यस र्षदेखि सहज हुने सुनाए। पुलले गाउँलेको दैनिकी नै फेरिएको उनको भनाइ छ।
“बर्खामा खोला उर्लिएर आउँछ, पारि बारीमा पुग्न धेरै समस्या थियो, वारि गाउँदेखि पारि गाउँ पुग्न बुर्तिबाङ बजारबाट चुरेलाबास हुँदै बारीमा पुग्नुपथ्र्यो, घर र बारी नजिकै भए पनि बीचमा खोला हुँदा धेरै अवरोध भएको थियो। भनेको बेलामा बारीमा पुग्न सकिँदैनथ्यो”, उनले भने, “यहाँ पुल बनेपछि त हामी धेरै खुसी भएका छौँ, हाम्रो आधा समस्या समाधान भएको छ, अब त बारीमा तरकारी फलाएर उत्तिखेरै टिपेर ल्याउन सकिन्छ, पहिले त बारीबाट तरकारी लिएर आउन झन्डै दुई घन्टा लाग्ने गथ्र्यो।”
स्थानीय कुलबहादुर नेपालीले अब खोला तर्दा कसैले ज्यान गुमाउन नपर्ने बताए। उनले पहिले खोला वारपार गर्दा धेरैले ज्यान गुमाएको स्मरण गरे। बुर्तिबाङ बजार नजिकै भए पनि यहाँ लामो समयसम्म पुल नबन्दा आफूहरूले खेतीपाती गरेर जीवन निर्वाह गर्नसमेत गाह्रो भएको उनले बताए।
स्थानीय नेपालीले भने, “पुल निकै छिटो बन्यो, हिउँदमा बाँसको फड्के बनाएर खोला तर्ने गथ्र्यौँ, त्यही फड्केबाट लडेर कतिले ज्यान गुमाए, फड्के नहुँदा भारीसँगै खोला तर्यौँ, नेताहरुलाई धेरै पटक यहाँ पुल बनाउनका लागि आग्रह गरेका थियौँ सुनेनन्, बल्ल पुसमा बजेट परेछ र अहिले पुल बन्यो, अब वारिपारि गर्न खोला तर्नुपर्ने छैन, पुल निकै लामो छ, त्यही भएर होला अहिले पुलमा धेरै मान्छे आउँछन्।” – रासस |
धनकुटामा रोजगार मेला हुँदै धनकुटा। धनकुटा नगरपालिकाले एकदिने वृत्ति परामर्श तथा रोजगार मेलाको आयोजन गर्ने भएको छ। नगरमा रहेका बेरोजगार युवालाई रोजगारी दिन गहयोग गर्ने उद्देश्यले उक्त मेलाको आयोजन गर्न लागिएको हो।
नगरपालिकाले आज पत्रकार सम्मेलन गरेर अगामी असार २ गते नरपालिकाको प्राङ्गणमा मेलाको आयोजना गर्ने जानकारी दिएको छ। मेलामा नगर क्षेत्रमा रहेका उद्योग/व्यवसाय, बैंक तथा वित्तीय संस्था, पर्यटन, होटल व्यवसायलगायत १५ प्रदर्शनी कक्ष रहनेछन्। मेलामा स्थानीय उत्पादनसहित रोजगारसँग सम्बन्धित छ विषय समावेश गरिएको नगर प्रमुख चिन्तन तामाङले जानकारी दिए।
कार्यक्रम नेपाल सरकार र स्वीजरल्याण्ड सरकारबीच द्विपक्षीय सम्झौता ‘सम्मानित रोजगारीका लागि सीप परियोजना दोस्रो’ अन्तर्गत हुन लागेको हो । |
हात्तीवांग र हपनीमा अझै पुगेन विद्युत मुग्लिन। तपाईलाई पत्यार नलाग्न सक्छ ! चितवनका बासिन्दा अझै पनि टुकी बत्तीको भरमा बस्न बाध्य छन्। किनकि चितवन सुगम जिल्ला भनेर परिचित छ। तर चितवनको एकमात्र गाउँपालिका इच्छाकामनाको पहाडी दुर्गम बस्तीका स्थानीयले अझै विद्युत उपयोग गर्न पाएका छैनन्।
इच्छाकामना गाउँपालिकाको वडा नं १ र २ का लागि चार वर्षअघि ठेक्का लागे पनि ठेकेदारले काम नगरेपछि यहाँका स्थानीय विद्युत् सेवाबाट बञ्चित हुन पुगेका हुन्। गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङका अनुसार चार वर्षअघि ठेक्का लागे पनि ठेकेदार कम्पनीले काम नगर्दा विद्युत् सेवा विस्तार गर्न ढिला भएको हो।
उनका अनुसार विद्युतीकरणका लागि वडा नम्बर १ र २ मा आर्थिक वर्ष २०७५/७६ मै बोलपत्र भएर पनि काम अघि बढेन। सो समयमा विद्युतीकरणका लागि ठेक्का लिएर ठेकेदार कम्पनीले समयमा काम नगरिदिँदा विद्युत् सेवा विस्तार गर्न सकेन। अहिले काम नगर्ने ठेकेदारलाई मुद्दा हालेर ठेक्का रद्द गरेर पुनः ठेक्का लगाएर काम पनि अघि बढेको अध्यक्ष गुरुङले बताए।
“काम नगर्ने ठेकदारलाई मुद्दा हालेपछि पुनः चालु वर्षमै नयाँ बोलपत्र आह्वान भयो, त्यतिखेर छ करोडको ठेक्का लागेको थियो, अहिले १४ करोडमा स्तरवृद्धि र विस्तारको काम थालनी भएको छ, अब कुनै पनि बहानामा काम रोकिँदैन, प्राधिकरणसँगको समन्वयमा काम भइरहेको छ”, अध्यक्ष गुरुङले भने। चालु आवको दोस्रो चौमासिकभित्रै ठेक्का प्रक्रिया टुंगिएर नयाँ ठेकेदारले जिम्मा लिएपछि अहिले विद्युत् सेवा पुग्न बाँकी गाउँमा धमाधम विद्युतीकरणको काम सुरु भएको उनले बताए।
गाउँपालिकामा समग्रमा ५५ प्रतिशत घरमा मात्र विद्युत् पुगेको छ। अध्यक्ष गुरुङका अनुसार वडा नं ३, ४ र ५ को ९० प्रतिशत घरमा बिजुली पुगिसकेको छ। तर पहाडी क्षेत्र अधिक रहेको वडा नं १ मा १५ प्रतिशत, ६ मा ५० प्रतिशत घरमा मात्र बिजुली पुगेको छ। वडा नं २ मा कुनै पनि ठाउँमा बिजुली छैन। विद्युतीकरणको क्रममा केही समयअघि पर्यटकीय एवं ऐतिहासिक क्षेत्र उपरदाङगढीमा बिजुली बलेसँगै वडा नंं ७ को भने सबै ठाउँमा बिजुली पुगिसकेको उनले बताए।
वडा नं २ मा विद्युत् विस्तारका लागि पोल पुगेपछि स्थानीयमा आशा भने पलाएको छ। “चार वर्षअघि नै ठेक्का आह्वान भएको सुनेका थिएँ, काम सुरु नहुँदा आश नै मरेको थियो, तर अहिले घरको आँगनमै पोल झरेपछि आशा पलाएको छ”, स्थानीय टीका गुरुङले भने।”
यस्तै यतिबेला टोलटोलमा बिजुली पोल ढुवानीको काम भइरहेको इच्छाकामना–२ का वडाध्यक्ष पञ्चबहादुर चेपाङले बताए। यहाँका सबै टोलटोलमा सडक पुगे पनि बिजुली बाल्नबाट यहाँका स्थानीय बञ्चित भएको उनको भनाइ छ। अब भने बिजुली बल्नेमा ढुक्क भएको उनको भनाइ छ।
अहिले नेपाल विद्युत् प्राधिकरणसँगको समन्वयमा काम भइरहेकाले पोल र तार प्राधिकरणले नै खरिद गरेर पठाएको तथा पोल गाड्ने र तार टाँङ्ने काम ठेकेदार पक्षले गर्ने भएको गाउँपालिका अध्यक्ष गुरुङले बताए। इच्छाकामनाको सबैै वडामा विद्युत् विस्तार र स्तरवृद्धिको काम हुन लागेको हो।
अध्यक्ष गुरुङका अनुसार काममा कुनै अवरोध नभएमा आगामी आवभित्रै इच्छाकामनाका सबै स्थानमा विद्युत् पुग्नेछ। गाउँपालिकाले विद्युतीकरणसँगै विपन्न समुदायको नागरिकको घरमा निःशुल्क विद्युत् मिटरसमेत जडान गर्दै आएका छन्।
साथै सामथ्र्य उच्च बनाउनका लागि गाउँपालिकामै ‘सबस्टेशन’ राख्नका लागि पनि पहल भइरहेको उनले जानकारी दिए। गाउँपालिकामै ‘सबस्टेशन’ बनाएर गोरखाबाट लाइन जोडेपछि चौबीसै घन्टा विद्युत्मा पहुँच हुने उनको भनाइ छ। – रासस |
म्याग्दी नदीको पानी पोकफाँटको सिरानमा म्याग्दी। म्याग्दीको मंगला गाउँपालिका–५ पोकमा ‘लिफ्ट’ सिँचाइ आयोजना निर्माण भएको छ। मंगला गाउँपालिकाको आर्थिक सहयोगमा म्याग्दी नदीको पानी तानेर पोकको फाँटमा लगेर सिँचाइ गर्न थालिएको हो। तीस हर्षपावर क्षमताको पम्प प्रयोग गरेर म्याग्दी नदीको पानी ६५ मिटरमाथि तानिएको मंगलाका प्राविधिक नगेन्द्र सापकोटाले बताए।
“म्याग्दी नदीको किनारबाट ९० मिलीलिटरको पाइपबाट पानी तानेर ६५ मिटरमाथि पोकफाँटको सिरानमा पुर्याइएको छ”, उनले भने, “नहरबाट कृषकको खेतबारीमा पानी लगेर सिँचाइ गर्न सकिन्छ।” लिफ्ट सिँचाइ आयोजनाको सोमबार परीक्षण सफल भएको प्राविधिक उनले बताए।
पोक म्याग्दीको मकै, गहुँ र धानबालीको भण्डार मानिन्छ। लिफ्ट सिँचाइ आयोजनाबाट पोकको ६५ हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको उपभोक्ता समितिका अध्यक्ष मनप्रसाद बुढाथोकीले बताए। बाउन्न घरधुरी कृषक लाभान्वित भएका छन्। हिउँदयाममा सिँचाइ अभावमा कृषकलाई खेतीबाली लगाउन समस्या परेपछि लिफ्ट प्रविधिको विकल्प अपनाइएको हो।
बर्खायाममा मूल फुट्ने र खोल्सामा पानी आउने हुँदा सिँचाइको समस्या हुँदैन। खडेरी र हिउँदयाममा सिँचाइ अभावमा बाली सुक्ने समस्या छ। पानीको अभावमा धानको ब्याड राख्न नपाएका र खेतको मकै सुकेर क्षति ब्यहोर्नुपर्ने समस्या हट्ने पोकका कृषकको अपेक्षा छ। सिँचाइ भएपछि जमिन बाँझो राख्नुपर्ने समस्या हटेर बाह्रै महिना मौसम अनुकूलको खेती लगाउन सकिने भएको छ।
लिफ्ट सिँचाइ आयोजना निर्माणका लागि मङ्गला गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९/८० मा रु १० लाख बजेट विनियोजन गरेको थियो। पम्प, पाइप खरिद र नेपाल विद्युत् प्राधिकरणसँग समन्वय गरी नयाँ ट्रान्सफर्मर राखेर विद्युत्को व्यवस्था मिलाइएको छ।
म्याग्दी नदी किनारमा आवश्यक परेको समयमा पाइप राखेर पानी तान्न मिल्ने संरचना बनाइएको थियो। आगामी वर्ष म्याग्दी नदीबाट तानेको पानी संकलन गर्ने पोखरी बनाउने योजना रहेको गाउँपालिकाले जनाएको छ। – रासस |
अवैध रासायनिक मल भित्रिने क्रम बढ्दो पाल्पा। नियन्त्रणमा लिइएको अवैध रासायनिक मल (युरिया) राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको छ। गत शनिबार रामपुरको एक सटरमा भण्डारण गरी राखिएको भारतीय कम्पनीको छ सय ५० बोरा अवैध मल फेलापरेको थियो।
सोमबार राजस्व अनुसन्धान अधिकृतसहित, करदाता सेवा कार्यालय पाल्पाका प्रमुख र जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब निरीक्षकसहितको टोलीले रामपुरमा ‘शिल’ गरेर राखेको मल अनुसन्धान कार्यालय बुटवल पठाइएको छ।
रामपुर-५ बेझाडस्थित विजय श्रेष्ठको घरमा (सटर भाडामा) ‘प्रधानमन्त्री भारतीय जनउर्वरक परियोजना भारत युरिया’ नामक रासायनिक मल भण्डारण गरिएको अवस्थामा फेला परेको थियो।
बिल तथा कागजपत्र र सम्बन्धित व्यक्ति फेला नपरेपछि रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाको संयोजकत्वमा जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापासहितको सरोकारवालाको टोलीले मल ‘शिल’ गरेर राखेको हो।
हालसम्म भण्डारण गरेका सम्बन्धित व्यक्ति पहिचान भएको छैन। प्रतिबोरा ४५ किलो बराबरको तौल छ। गत शनिबार बिहान रम्भा गाउँपालिका-१ हुँगीमा पनि अवैधरूपमा गाडीमा ल्याउँदै गरेको तीन सय ७२ बोरा युरिया मल प्रहरीले नियन्त्रणमा लिएर सोही दिन अनुसन्धानका लागि भन्सार कार्यालय पठाइसकिएको छ।रासस |
रुकुम (पूर्व) मा भूमे पर्वको रौनक रुकुम (पूर्व)। रुकुम(पूर्व) मा भूमे पर्वको रौनक सुरु भएको छ। प्राकृतिक विपत्तिबाट बच्ने विश्वासका साथ प्रकृतिको पूजा गरी मनाइने यो पर्व मगर समुदायको महत्वपूर्ण पर्व हो।
भूमेपर्व (बल पूजा)को उपलक्ष्यमा भूमे गाउँपालिकाले जेठ ३२ गते पालिकाभरि सार्वजनिक बिदा दिएको छ। यो बिदा स्थानीय तह स्थापना भएदेखि नै गाउँपालिकाले दिँदै आएको छ। असार १ गते भने लुम्बिनी प्रदेश सरकारले नै रुकुमपूर्व र रोल्पामा सार्वजनिक बिदा दिँदै आएको छ।
रुकुम (पूर्व)मा जेठ मसान्तको अघिल्लो दिनमा पुजारीसहित फूल टिप्न आफूलाई पायक पर्ने लेकमा जाने गर्दछन्। रातभरि नाच्दै, गाउँदै रमाइलो गर्दै आदी बाटोमा गएर बास बस्ने र भोलिपल्ट अर्थात् जेठको अन्तिम दिन बिहानै लेकमा पुगी फूल टिपेर ल्याउने चलन छ। पुजारी र दमाहाका साथ फूल लिन जाने चलनलाई ‘मुरुला’ लिन जाने भनिन्छ।
जेठको अन्तिम दिन बिहानै लेकमा भूमि देवतालाई धारधूप गरेर फूल टिप्न आरम्भ गरेसँगै भूमे पर्व सुरु भएको बुझिने भूमे गाउँपालिकाका अध्यक्ष होमप्रकाश श्रेष्ठले जानकारी दिए । उनका अनुसार अर्नीपानी सगुन बोकेर लेक जानेले ल्याएको रङ्गीविरङ्गी फूल सबैलाई शिरमा लगाइदिएर अग्रजको आशीर्वाद थाप्ने गरिन्छ।
अध्यक्ष श्रेष्ठ भन्छन्, “फूल लेकाली देवताको सगुनका रूपमा टिप्ने र ग्रहण गर्ने गरिन्छ। पुजारी गाउँलेले खटाएको हुन्छ। पुजारीले लेकमा धजा, धारधूप तथा अक्षतासहित भूमि देवतासँग गाउँमा राम्रो होस् भनी वाचा कबुल गरेर लेकबाट नै शिरमा रङ्गीविरङ्गी फूल तथा मगर पोसाकमा लहरै लागेर नाच्दै गाउँ झर्छन्।
पुजारीले पशुको बलि दिँदा गाउँमा महिलाले ध्वाँसो, खरानी, दसैँमा ढोकामा राखिएको टीका-जमराजस्ता घर लिपपोत गरेर निस्किएको फोहरलाई घर बाहिर फाल्दछन्। त्यसैलाई नै बल हाल्ने भन्ने गरिन्छ। बल हाल्दा वर्षभरिको ग्रहदशा र विपत्ति भूमेले लैजाने जनविश्वास रहिआएको छ।”
पर्वमा पूजासँगै २२ चालमा नाच नाच्ने गरिन्छ। स्थानीय भाषामा यस पर्वलाई ‘नोगोबाङ्गे’ पनि भनिन्छ। आफू बसेको ठाउँको भूमि र भूमि देवताको पूजा गरेर मातृभूमिप्रति श्रद्धा र आदर प्रकट गर्नका लागि यो पर्व मनाइने गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह श्रेष्ठले बताए।
यो पर्व मनाएपछि दैवी विपत्तिबाट जोगिने जनविश्वास छ। विगतमा मगरले मात्रै मनाउने यो पर्वमा अहिले अन्य जाति पनि रमाउन थालेको श्रेष्ठले बताए।
मगर राज्य रहेको समयमा वर्षभरिको नियम, कानुन बनाउने तथा त्यसका लागि प्रतिनिधि चयन गर्ने दिनका रूपमा समेत यो पर्वलाई लिने गरिन्छ। सोही पर्वमा जनताको सङ्ख्याको लगत राख्नेजस्ता कामसमेत गरिन्थ्यो।
मगर बहुल क्षेत्रमा विशेष पर्वका रूपमा मनाइने यस पर्व रुकुम (पूर्व)को भूमे गाउँपालिकामा विशेष तरिकाले मनाइन्छ। पुथाउत्तरगङ्गा र सिस्ने गाउँपालिकाको विभिन्न क्षेत्रमा पनि यो पर्व मनाइने गरेको पाइन्छ।
भूमे पर्वको इतिहास
मगर संस्कृति अध्येता तिलक रोकामगरका अनुसार परापूर्वकालमा एक मगर बाहुल्यता भएको गाउँमा अल्पसङ्ख्यक रुपमा भाँडाकुँडा बनाउनलाई सिर्पाली विक, कपडा सिलाउने र बाजागाजा बजाउने दमाई (परियार)को मिश्रित बसाइँ रहेको थियो।
खोलाको पानी लिन गाउँबाट केही माथि ठूला-ठूला पहरा (पहाड)हरु काटेर जानु पर्दथ्यो। खोलमा पानी भर्न जाने क्रममा कुनै जोग पारेर मान्छे हराइरहेका हुन्थे। यसरी पानी भर्न जाने मान्छे हराउँदै जाँदा गाउँ नै भावविह्वल भयो।
यसरी गाउँ नै शोकमा डुबेपछि गाउँका मुखियाले गाउँभेला बोलाई मान्छे हराएको पत्ता लगाउन गाउँका सबैलाई खटाउँछन्। पाँच/छजनाको टोली बनाएर पानी भर्न लगाउँदा फर्कने क्रममा पछिल्लो पानी भरुवालाई पहराको मुनिबाट निस्केको सर्पले खाएको देख्छन् अन्य मान्छेले देख्छन्।
यसरी सर्पले खाएको थाहा पाएपछि गाउँलेहरु भेला भई कसरी सर्पलाई तह लगाउन सकिन्छ भनेर छलफल गर्छन्। सिर्पाली विकले म त्यो सर्पलाई आफ्नो काबुमा ल्याउन सक्छु भनेर भन्छ। त्यसका लागि एक धार्नी फलामको सनासो तयार पारिन्छ र फेरि पानी भर्न मान्छे पठाइन्छ।
सर्प त्यही मान्छेलाई खान निस्केको बेला सनासोले सर्पको घाँटीमा अठ्याउँछ र सिर्पालीले सोध्छ, “तँ को होस्? तैँले किन मानव क्षति गरिरहेका छस्?”
सर्पले सिर्पालीलाई आग्रह गर्छ ‘मलाई नमार मनुखे, म भूमि देवता जेठको मसान्तको दिन दूधमात्र खाएर असार १ गते मलाई एक हाँसे भेडा लिएर पूजा गर्नु मैले मानव क्षति पनि गर्दिनँ र बाढीपहिरो पनि रोक्छु’।
सर्पले यसो भनेपछि त्यही वर्षबाट पूजा गरियो। त्यसपछि कुनै मानवीय क्षति भएन र बाढीपहिरो पनि गएन। त्यसैले भूमि देवतामाथि विजय प्राप्त गरेको उपलक्ष्यमा भूमे पूजा, भूमे नाच सुरु भएको इतिहास छ।
ठाउँअनुसार भूमे पर्वको नामकरण
अध्येता रोकामगरका अनुसार भूमे पर्वलाई रोल्पाको थवाङ, रुकुम (पूर्व) को क्याङसी, महतमा झ्यामकरी र भलक, काँक्री, लुकुमतिर नोगोवाङे र भूमे तथा तकसेरातिर भुल्कु पनि भनिन्छ।
भूमेको औपचारिक फुकुवा
भूमेको औपचारिक फुकुवा गाउँअनुसार फरक हुने भएकाले एकरुपता भने छैन। तर जसले जति गते भूमे पर्व फुकाए पनि जेठ महिनामै फुकाउँछन्। कुनै गाउँमा वैशाखे पूर्णिमामा कुनै ठाउँमा जेठको १ गते, कुनै गाउँमा जेठ १५ गते फुकाउँछन्।
भूमे पर्व फुकाउँदा गाउँका मुखिया प्रधानपञ्च कहाँ गएर जोडाधजा, धार्नी रक्सीले ढोग गरी अनुमति मागेपश्चात् दमाई कहाँ गएर बाजागाजा फुकाउने चलन रहेको छ।
फूल टिप्न जाने
भूमे नाच फुकाउनु अगाडि युवायुवतीको एक भूमे नाच समूह बन्छ। जसको नाम ठाउँअनुसार फरक हुन्छ। कुनै ठाउँमा नोगोवाङे, कुनै गाउँमा भल्क पसिने समूह । त्यही समूह जेठ मसान्तको अघिल्लो दिन रोटी, रक्सी लिएर दिउँसो ४/५ बजेतिर लेक चढ्छन्।
नाच्दै गाउँदै लेक चढेको समूहले डाँडाकाँडा भरिभराउ बनाएको हुन्छ । डाँडाको युवायुवतीको लस्कर मौसमअनुसार बसाइँ सर्ने मालचरीको समूह झैँ नाच्दै लाग्छ। उकाली काटेपछि ४/५ घन्टामा लेकको नजिक पुग्छन् र त्यहीँ बास बसी रातभरि भूमे नाच, झाम्रे गीत गाएर बिहानको ३ बजाउँछन् । ३ बजेतिर पुजारी उठेर लेकमा पूजा गर्न गएपश्चात् बल्ल फूल टिप्न जाने समूह त्यहाँबाट उकाली चढ्छन्।
पूजा गर्नुको अर्थ फूल टिप्न जाने समूहले जान वा अन्जानले जुठो पिटो भएमा माफी दिनु, फूल टिप्न आउने समूहलाई भिरबाट जोगाइदिनु, ढुंगामुढाबाट जोगाइदिनु, बुकी लाग्नबाट जोगाइदिनु भनेर पन्थ्यौली र लेकका सिद्ध देवतालाई पुकारेपछि फूल टिप्न जाने समूह भिर/पाखामा छरिएर फूल टिप्न लाग्छन्।
फूल टिपेर एक मुर्ला लिएर आफ्नो पन्थ्यौलीमा मुर्ला गाडेर आ-आफ्नो पन्थ्यौली घुमाई नाचेपछि नोगोवाङे समूह महिलाको पछ्यौरी जोडेर लामो बनाई घरतिर बाटो लाग्छन्।
मगर संस्कृति अध्येता रोकामगरका अनुसार नाच्दै गाउँ आउने क्रममा एक जलाकी (भञ्ज्याङमा ढुङ्गा थुपारेर बनाइएको पुजा गर्ने ठाउँ) भेटिन्छ, त्यहाँ एक मुर्ला गाडेर नयाँ फूल टिप्न गएको व्यक्तिलाई उक्त जलाकी बोकेर घुमाउँछन्।
बूढापाकाका अनुसार बोकेर घुमाएपछि बोकी माग्नेलाई शुभ हुन्छ भनेर एक दुई पैसा पन्थ्यौली अथवा जलाकीमा चढाउँछन्।
केही तल आएपछि युवतीहरु बुकीबाट टिपेर लिएको केही फूललाई माला बनाएर पुरुषको समूहलाई लगाइदिन्छन्। गाउँको नजिक आउँदा फूल माग्नेहरुको लस्कर हुन्छ।
उनीहरु रक्सी र रोटी लिएर भोकाएर आएका फूल टिप्न जाने समूहलाई स्वागत गर्छन्। बुकीबाट फूल टिपेर आउने समूहले फूल माग्नेलाई फूल दिएर सम्मान गर्छन् भने फूल शिरमा समेत लगाइलिन्छन्।
थर्की (नाच्ने थला) पुगेपछि सबैलाई शिरमा फूल लगाएर सम्मान गर्छन्। केही चाला नाचेपश्चात् फेरि गाउँ घुमेर नाची थर्कीमा आएर त्यस दिन अन्त्य गर्छन्।
असार १ गते
असारको १ गते भूमे नाच्ने समूह थर्कीमा आएर नाच्दै गर्दा गाउँ नजिकको थानमा पूजा सुरु हुन्छ र सबै भूमे नाच्ने समूह नाच बन्द गरेर पूजा गर्ने ठाउँमा जान्छन्।
जब सिर्पाली विकले साँढे मन्छाउँछ, मान्दा बित्तिकै पाती र फूलले हान्छन् र साँढे गाउँको बाटो हुँदै लैजाने क्रममा गाउँका धुइसो, कुलपूजा बेला ढोकामा लगाएको टीका, आफ्नो पितृलाई चढाएको मकै, नाङ्लोभरि बनाएर तयारी अवस्थामा बसेका गृहिणीहरुले बलि दिन लागेको साँढेलाई हान्छन्। जसको अर्थ घरको कालकष्ट रुघामुघा सन्चो होस् भन्ने हो। यसरी साँढेलाई बलि दिने ठाउँमा लखेट्दै पुर्याउँछन् र बलि दिन्छन्।
भूमि देवतालाई कुनै गाउँमा बोका, कुनै गाउँमा सुँगुर, कुनै गाउँमा भाले बलि दिन्छन्। कुनै गाउँमा जेठ मसान्त र कुनै गाउँमा असार १ गते बलि दिने चलन छ । यसरी लगातार एक हप्तासम्म भूमे नाच नाचिन्छ।
भूमेको अवसरमा सांस्कृतिक महोत्सव
भूमे गाउँपालिकामा भूमे पर्वको अवसरमा सांस्कृतिक महोत्सव हुने भएको छ । पर्वका अवसर पारी ‘हाम्रो भूमे हाम्रो पहिचान, स्थानीय भाषा, कला संस्कृतिलाई जगेर्ना गर्ने हाम्रो अभियान’ मूल नाराका साथ पर्वको अवसरमा सांस्कृतिक महोत्सव हुने भएको हो । महोत्सवमा सांस्कृतिक प्रतियोगिता पनि हुने गाउँपालिकाले जनाएको छ।
महोत्सवमा भूम्या नाच, ढोङ्गे अर्थात् नचारु नाच, मयूर नाच, डिग्रे अर्थात् पैसेरु नाच, फाँक र झोरेली नाच, लस्के गीत, सिङ्गारु नाच प्रतियोगिता सञ्चालन गरिने भएको छ । भूमे नाचमा प्रथम स्थान हासिल गर्नेलाई रु एक लाख, दोस्रोलाई रु ७५ हजार, तृतीयलाई रु ५० हजार र सान्त्वना स्थान हासिल गर्नेलाई रु २० हजार पुरस्कार प्रदान गरिने छ।
यसैगरी, ढोङ्गे अर्थात् नचारु नाचमा प्रथम हुनेलाई रु ७५ हजार, दोस्रोलाई रु ५० हजार, तेस्रोलाई रु ३० हजार र सान्त्वना स्थान हासिल गर्नेलाई रु १५ हजार पुरस्कार प्रदान गरिनेछ।
मयूर नाचमा प्रथम स्थान हासिल गर्नेलाई ५० हजार, दोस्रो स्थान हासिल गर्नेलाई ३० हजार, तेस्रो स्थान हासिल गर्नेलाई २० हजार र सान्त्वना स्थान हासिल गर्नेलाई १० हजार पुरस्कारको व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ ।
यस्तै, पैसेरु, फाँक, झोरेल्नी, लस्के र सिङ्गारु नाच प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना स्थान हासिल गर्नेलाई क्रमशः समान पुरस्कार राशि ३० हजार, २० हजार, १० हजार र पाँच हजार वितरण गरिने छ। |
प्यूठानमा दुर्घटनामा मृत्यु हुनेप्रति प्रधानमन्त्री दाहालद्वारा समवेदना काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्यूठानमा आज दिउँसो भएको कार दुर्घटनामा मृत्यु भएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकूल परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्नुभएको छ ।
प्रधानमन्त्री दाहालले सामाजिक सञ्जाल फेसबुकमार्फत दुर्घटनामा मृत्यु हुने आठ तथा मृतकको परिवारमा समवेदना प्रकट गरेका हुन् । “प्यूठान स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्किरहेको कार दुर्घटना हुँदा आठ जनाको निधन भएको खबरले दुःखित बनाएको छ । उक्त दुर्घटनामा जीवन गुमाउने सबैमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकूल परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु”, समवेदनामा उल्लेख छ । |
सहकारीका बचतकर्ताको बीस करोड बढी रकम ठगी दोधारा चाँदनी । महेन्द्रनगरस्थित शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले बचतकर्ताको रु २० करोड ७८ लाख बढी रकम ठगी गरेको खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा बचत रकम फिर्ता नगरेको भन्दै दुई हजार चार सय ९६ जना बचतकर्ताले प्रहरीमा निवदेन दिएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बचतकर्ताहरूले रु २० करोड ७८ लाख २४ हजार रकम फिर्ता माग गर्दै निवेदन दिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी निरीक्षक हर्षबहादुर चन्दले शिवशिखर सहकारी संस्थाबाट ठगिएका दुई हजार चार सय ९६ जनाले निवेदन दिएको बताए । “अहिले हामी निवदेनकर्ताको संयुक्त जाहेरी बनाएर मुद्दा दर्ता गर्ने तयारीमा छौँ”, उनले भने, “अनुसन्धान गर्न सजिलो होस् भनेर संयुक्त जाहेरी तयार गर्न लागेका हाँै ।”
गत महिना प्रहरीले उक्त सहकारीबाट बचत रकम फिर्ता नपाएकाहरूलाई बचतपास बुक र नागरिकतासहित प्रहरीमा निवेदन दिन आग्रह गरेको थियो । अहिले महेन्द्रनगरस्थित शिवशिखर सहकारी संस्था बन्द छ । बचतकर्ताहरूले आफूहरूले जम्मा गरेको रकम फिर्ता पाउनुपर्ने भन्दै निवेदन दिएको बताएका छन् । “हामीले मेहनतले कमाएको रकम हामीलाई फिर्ता गराइदिन भनेर प्रहरीमा निवेदन दिएका हौँ”, बचतकर्ता सुमन कुँवरले भने, “सहकारीका कर्मचारीले घरमै आएर आग्रह गर्दा बचत जम्मा गरेका हौँ ।” उनले उक्त सहकारीमा ३७ हजार रकम बचत रहेको बताए ।
त्यसैगरी, वासुदेव भट्टले पनि ४१ हजार रकम उक्त सहकारीमा जम्मा रहेको बताए । “सहकारीको कार्यालयमा गएर बचत फिर्ता माग्दा दिएन, तीर÷चार दिन कार्यालयमा धाएँ”, उनले भने, “मेरो किराना पसल छ, मैले दैनिक बचत गर्दै आएको थिएँ ।” बचतकर्ताहरूले बचत रकम फिर्ता र सहकारी सञ्चालकहरूलाई कारबाहीको माग गरेका छन् ।
भक्तपुर केन्द्रीय कार्यालय रहेको शिवशिखर बहुउद्देशीय सहकारी संस्थाले महेन्द्रनगरलगायत अन्य जिल्ला शाखाबाट समेत ठगी गरेको उजुरी प्रहरीमा छ । |
पर्यटक डाक्दै सकियो ‘हनी हन्टिङ’ अन्नपूर्ण (कास्की)। कास्कीको माछापुच्छ्रे गाउँपालिकामा भएको भीरमौरीको मह काढ्ने (हनी हन्टिङ) कार्यक्रम आगामी वर्षका लागि पर्यटकीय डाक्दै सकिएको छ ।
माछापुच्छ्रे गाउँपालिकाको सहयोग र सिदिङ युनाइटेड क्लबको संयोजनमा आइतबार र सोमबार दुई दिन ‘हनी हन्टिङ’ भएको थियो । माछापुच्छ्रे–९ स्थित मर्दी खोलाको किनार कोप्रे भीरमा ‘हनी हन्टिङ’ चलेको हो । पर्यटन प्रवर्द्धनका लागि वडा कार्यालयको सहयोगमा मह काढिएको कार्यक्रम संयोजक अमृत तामाङले बताए ।
अघिल्ला वर्ष अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) को अनुमतिमा मात्रै निकाल्ने भए पनि यही वर्षदेखि वडा कार्यालयले अगुवाइ गरेको हो । गाउँपालिकाले अगुवाइ लिएपछिको पहिलो कार्यक्रम भएकाले यो वर्ष पर्यटक नपुगेको माछापुच्छ्रे–९ का वडाध्यक्ष हरिबहादुर क्षेत्री (राजेन्द्र)ले बताए।
यो पटकको ‘हनी हन्टिङ’ आगामी वर्षका लागि पर्यटक बोलाउने बाटो भएको वडाध्यक्ष क्षेत्रीले जानकारी दिए । “यसभन्दा अघि गाउँलेहरूले भीर मौरी काढ्ने गर्थे । यो वर्षदेखि वडाले यसमा सहयोग गरेको हो”, वडाध्यक्ष क्षेत्रीले भने, “यो पटक पर्यटकलाई थाहा दिने काम भयो । अर्को वर्षदेखि यसलाई अझ बृहत् बनाउने लक्ष्य छ ।”
मह काढ्ने मुख्य जिम्मेवारी स्थानीयवासी ६६ वर्षीय उमानाथ गौतमले गरेका थिए । गौतमले करिब ३५ वर्षदेखि मह निकाल्ने काम गर्दै आएका छन् । अहिले उनलाई ३६ वर्षीय उनकै छोरा चिमलाल गौतम लगायत पाँच जनाले साथ दिएका थिए ।
एक वर्षमा दुई पटक भीर मौरीको शिकार गर्न सकिने मह शिकारी (भिरौटे) उमानाथ गौतमले जानकारी दिए। जेठरअसार र असोज÷कात्तिकमा दुवै मौसममा भीर मौरीको सिकार गरी पयर्टकलाई देखाउन पाए पर्यटन क्षेत्र उकासिने भिरौटे गौतमको भनाइ थियो ।
‘हनि हन्टिङ’ निकै चुनौती र जोखिमपूर्ण रहेको भिरौटे गौतमले सुनाए। “भीरमौरीको शिकार गर्नु अलि बढी खतरा मानिन्छ”, गौतमले भने, “सुरक्षा चुनौतीको विषयमा सरकारले हेर्दिए सिजनको बेला भीरमा चढेर मह काढेर पर्यटकलाई देखाउन तयार छु ।”
उक्त भीर मर्दी हिमाल ट्रेक तथा माछापुच्छ्रे नमूना पैदल मार्गको सङ्गमस्थल हो । पोखरादेखि करिब २५ किलोमिटर दूरी पार गरी भीरमौरीको मह काढेको हेर्न पाइने भएकाले पर्यटन प्रवर्द्धनका लागि गाउँपालिकाले अभियान सुरु गरेको वडाध्यक्ष क्षेत्रीले बताए ।
उक्त वडाको अग्ला भीरहरूमा प्रशस्त मौरीका घार पाइन्छन् । यहाँका पहरामा पाइने मौरीको संरक्षणका साथै उचित तरिकाबाट मह सिकार गर्दा स्थानीयवासीको आम्दानी बढ्नुका साथै मह सिकारले स्वदेशी तथा विदेशी पर्यटकको मन पनि लोभ्याउने स्थानीयवासी बताउँछन् । |
null |
जनकपुरबाट काठमाडौं उड्न लागेको विमानमा धुवाँ देखिएपछि जनकपुरधाम । जनकपुरबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको विमानको उडान रद्द गरिएको छ ।
यु ४–५०८ नम्बरको विमान साँझ ५:३७ मा काठमाडौंका लागि उडान भर्ने क्रममा यात्रुले धुँवा देखिएको बताएपछि उडान रद्द गरिएको हो।
दिउँसो ४:३० बजे उडान गर्ने तालिका रहे पनि सो विमान १ घण्टा ७ मिनेट ढिला गरी उड्न लागेकोमा यात्रुले धुवाँ देखिएको बताएका थिए । |
बुटवलको तिलोत्तमालाई पत्र : नदीजन्य पदार्थ उत्खनन् गर्दा सीमा मिचियो रुपन्देही । बुटवल उपमहानगरपालिकाले नदीजन्य पदार्थ निकासी गर्दा तिलोत्तमा नगरपालिकाबाट सीमा मिचिएको जनाएको छ ।
आज राससमा ‘यसरी भइरहेको छ तिनाउ नदीको दोहन’ शीर्षकमा समाचार प्रकाशित भएपछि उपमहानगरपालिकाले तिलोत्तमा नगरपालिकालाई पत्राचार गरी सहमति पालना गर्न अनुरोध गरेको छ ।
सीमा रेखाङ्कन नगरी नदीजन्य पदार्थ उत्खनन गर्दा बुटवलको क्षेत्रमा नदीजन्य पदार्थ उत्खनन भइरहेको देखिएकाले बुटवलले तिलोत्तमाबाट भएको प्रारम्भिक वातावरण परीक्षण अध्ययन प्रतिवेदन उपलब्ध गराउन अनुरोध गरेको छ ।
सिमाना नदीमा नदीजन्य पदार्थ उत्खनन गर्दा सीमा जोडिएका पालिकाहरूबीच आपसी समन्वय गरी विवादरहित ढङ्गले उत्खनन् गर्ने गराउने सम्बन्धमा जेठ ६ गते भएको निर्णय कार्यान्वयन नभएको पत्रमा उल्लेख छ ।
“बुटवल उपमहानगरपालिकाको वडा नं १७ र १८ को सीमा क्षेत्रमा बुटवलतर्फको भागमा नदीजन्य पदार्थ उत्खनन भएको, सीमा नदीको प्रारम्भिक वातावरण परीक्षण अध्ययन गर्दा समन्वय हुन नसकेको र सीमा रेखाङ्कन नगरी उत्खनन गर्दा बुटवलको क्षेत्रमा नदीजन्य पदार्थ उत्खनन भइरहेको देखिएकोले त्यहाँबाट भएको प्रतिवेदन एक प्रति उपलब्ध गराइदिने व्यवस्था हुन अनुरोध छ”, प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीद्वारा हस्ताक्षर रहेको पत्रमा भनिएको छ ।
यसअघि वैशाखमा पनि बुटवल उपमहानगरपालिकाले पत्राचार गरी नदीजन्य पदार्थ अनियमित उत्खनन हुनसक्ने र सो विषयमा विवाद हुन सक्ने भन्दै नदीको क्षेत्र छुट्ट्याई मार्किङ गर्ने कार्यमा जिल्ला समन्वय समितिबाट सहजीकरण गर्न अनुरोध गरेको थियो ।रासस |
यार्सागुम्बा संकलन गरी घर फर्किरहेकी बालिकाको हिउँमा चिप्लिएर मृत्यु दार्चुला । दार्चुलामा यार्सागुम्बा संकलन गरी परिवारका सदस्यसहित घर फर्किरहेकी एक बालिकाको हिउँमा चिप्लिएर मृत्यु भएको छ ।
जिल्लाको खलंगास्थित महेन्द्र नमुना माध्यमिक विद्यालयमा ६ कक्षामा अध्ययनरत १४ वर्षीया आरती कार्कीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको हो । व्याँस गाउँपालिकाको हुमदुम्तीमा हिउमा चिप्लिएर घाइते भएकी बालिकाको परिवारका सदस्यले उपचारका लागि दार्चुला जिल्ला अस्पतालमा भर्ना गरेका थिए ।
जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि भारतको हल्द्वानी रेफर गरिएको थियो। त्यहाँ लैजादै गर्दा बालिकाको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी निरीक्षक ज्ञानेन्द्र सिंहले बताए । |
यसरी भइरहेको छ तिनाउ नदीको दोहन रुपन्देही। तिनाउ नदीमा दिनहुँ सयौँ टिपर र ट्र्याक्टर दौडिरहन्छन् । नदीमा एस्काभेटरले निकालेको ढुङ्गा गिटी र बालुवा बोक्न टिपरलाई भ्याइनभ्याइ छ । बिहान उज्यालो भएदेखि रातिसम्म टिपर र ट्र्याक्टरले नदीजन्य पदार्थ ओसारपसार गरिरहेका छन् ।
असार १ गतेदेखि तीन महिनाका लागि निकासी बन्द हुने भएपछि नदीमा मनपरी तरिकाले निकासी गर्ने क्रम बढेको हो । नदीजन्य पदार्थ निकासीले नदीमा ठूलाठूला खाल्डा परेका छन् । त्यसले गर्दा नदीको भाग समथर छैन ।
बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, शुद्धोधन नगरपालिका, सियारी गाउँपालिकालगायतका क्षेत्रसम्म फैलिएको तिनाउमा अहिले मनपरी उत्खननको काम भइरहेको छ । नदीको उपयोगका विषयमा स्थानीय पालिकाबीच समझदारी नदेखिएपछि ठेकेदारलाई मनपरी नदीजन्य पदार्थ निकाल्न बल पुगेको छ ।
तिलोत्तमाले वातावरणीय प्रभाव मूल्याङ्कन गरेर नदीजन्य पदार्थ निकासीको अनुमति दिएको छ भने बुटवल उपमहानगरले वातावरणीय प्रभाव मूल्याङ्कन नै गरेको छैन । अहिले बुटवलका वडा नं १७ र १८ तथा तिलोत्तमाका तिनाउ नदी क्षेत्रमा अत्यधिक दोहन भएको छ ।
आइतबार बुटवल उपमहानगरका उपप्रमुख तथा अनुगमन समितिका संयोजक सावित्रादेवी अर्यालको नेतृत्वमा कर्मचारी र नगर प्रहरीसमेतको टोली वडा नं १७ स्थित तिनाउ नदी किनार पुग्दा सयौँ मालवाहक साधन चलिरहेका थिए ।
यसैगरी एक्स्साभेटरले धमाधम ट्र्याक्टर तथा टिपरमा बालुवा र गिटी भरिरहेका थिए । तिलोत्तमा नगरबाट नदीजन्य पदार्थ निकासीको अनुमति पाएको सिद्धाबाबा डिप ट्युबवेल एण्ड कन्स्ट्रक्सन प्रालिले वडा नं ४ डिङ्गरनगर क्षेत्रमा उत्खनन गरिरहेको छ ।
तिलोत्तमाबाट अनुमति पाए पनि बुटवल उपमहानगरका क्षेत्रमा समेत उत्खननन गर्ने काम भइरहेकाले अहिलेलाई रोक्न निर्देशन दिइएको उपप्रमुख तथा अनुगमन समितिका संयोजक सावित्रादेवी अर्याल बताउँछिन् । अनुगमन टोलीले मापदण्डभन्दा बाहिर गएर उत्खनन नगर्नसमेत ठेकेदारलाई सचेत गराएको उनको भनाइ छ ।
दुई पालिकाबीच नदी उपयोगका विषयमा भएको सहमतिअनुसार काम नहुँदा मनपरी उत्खननको काम भइरहेको बुटवल उपमहानगरका प्राकृतिक स्रोत तथा सम्पत्ति व्यवस्थापन शाखा प्रमुख रामप्रसाद अर्याल बताउँछन् । बुटवलमा नदीजन्य पदार्थ चोरी निकासी गर्ने केही ठेकेदारलाई जरिवानासमेत गरिएको उनको भनाइ छ ।
नदीबाट बालुवा, गिटी र ढुङ्गालगायत निर्माण सामग्री नदी किनारमै सङ्कलन गर्ने र त्यहीँबाट उठाउने गरिएको छ । वातावरणीय प्रभाव मूल्याङ्कनको समेत बेवास्ता गर्दै मनपरी ढङ्गले ठूला र साना नदी तथा खोलानालाको दोहनका कारण बस्तीसँगै अन्य प्राकृतिक स्रोत पनि सङ्कटमा पर्ने जोखिम बढ्दै गएको छ ।
सामान्यतया पुलभन्दा पाँच सय मिटर टाढा, नदी किनारबाट १५÷२० मिटर टाढा र आधा मिटरदेखि एक मिटरसम्म मात्रै गहिरो हुने गरी निर्माण सामग्री उठाउन पाउने मापदण्ड छ । यसबाहेक इआइएमा तोकेको ठाउँ र परिमाणमा मात्रै सङ्कलन गर्न पाउने व्यवस्था भए पनि यो सामान्य मापदण्डसमेत कतै पालना भएको देखिँदैन ।
बालुवा, गिट्टी, ग्राभेल र ढुङ्गा सङ्कलनका लागि ठाउँ नै तोकेर आइइमा उल्लेख गरिएको भए पनि त्यसअनुसार कतै पनि काम नभएको देखिएको छ । नदीमा एकै ठाउँमा नहरजस्तो खाल्डो बनाएर ग्राभेल निकालिएको छ । बीच भागमा नभई किनारतिर भएका कारण वर्षायाममा बाढीको जोखिम पनि बढेको स्थानीय लोकनाथ ज्ञवाली बताउँछन्।
तिलोत्तमा नगरपालिकाको नदीजन्य पदार्थ तथा अन्य पदार्थ उत्खनन, ओसारपसार तथा बिक्री वितरण व्यवस्थापनसम्बन्धी कार्यविधि २०७५ बनाइएको छ । सोही कार्यविधिअनुसार नदीजन्य पदार्थ निकासीका लागि चार कम्पनीलाई ठेक्का दिइएको नगरपालिकाले जनाएको छ ।
सो नगरपालिकाले कोरल निर्माण प्रालिलाई तिलोत्तमा–६ गोरकट्टामा, सिद्धबाबा डिप ट्युबवेल एण्ड कन्स्ट्रक्सन प्रालिलाई तिलोत्तमा–४ डिङ्गरनगरमा, बस्याल विन्ध्यवासिनी कन्सट्रक्सन प्रालिलाई वडा नं ६ हरपूर र पहुँनी क्षेत्रमा तथा न्यू सुरज निर्माण सेवा कम्पनीलाई वडा नं १४ मा नदीजन्य पदार्थ निकासीका लागि अनुमति दिइएका राजस्व उपशाखा प्रमुख इन्द्रदत्त सापकोटाले जानकारी दिए।
अनुगमनका क्रममा बस्याल विन्ध्यवासिनी कन्ट्रक्सनले पहुँनी क्षेत्रमा बढी उत्खनन गरेको पाइएको प्रमुख सापकोटा बताउँछन्। बढी उत्खखनन भएको नदीजन्य पदार्थ सबै पालिकाले जफत गर्ने उनको भनाइ छ ।
अन्य तीन कम्पनीले काम पूरा गरे पनि कम खनेको भन्दै नगरपालिकाले न्यू सुरज निर्माण सेवालाई थप उत्खननको अनुमति दिएपछि पुनः निकासीको काम चलिरहेको छ ।
यस्तै सिद्धबाबा डिप ट्युबवेल एण्ड कन्ट्रक्सन प्रालिलले तिलोत्तमा–४ डिङ्गरनगरमा उत्खननको काम गरिहरहेको छ । बुटवलको वडा नं १७ को सीमा जोडिएका यो क्षेत्रमा बुटवल उपमहानगरको भागमा समेत उत्खनन भएको दाबी कर्मचारीको छ ।
“हामीले तिलोत्तमाले तोकेको स्थानमा काम गरेका छौँ, यदी यो क्षेत्र बुटवलको हो भने दुई पालिकाले कूरा गर्नुपर्छ, हामीले पहिला पनि ठेक्का पाएकाले सोहीअनुसार नै प्रक्रिया पूरा गरेर काम अघि बढाएका हौँ”, कम्पनिका ठेकेदार सुमन गुरुङ भन्छन् ।
उत्खननपश्चात् केकति परिमाण निकालेको रहेछ भनी नापजाँच गर्न मिल्ने गरी निशाना लगाई निर्धारित परिमाणभन्दा बढी उत्खनन गर्न नपाउने साँध, किल्ला र निसानाका आधारमा परिमाण यकिन गरेपछि मात्र सो स्थानबाट उत्खनन कार्यको थालनी गर्ने र यसरी गरिएको सीमाभित्रबाट मात्र उत्खननकर्ताले नदीजन्य वा अन्य पदार्थ उत्खनन गरी लैजान सक्ने व्यवस्था तिलोत्तमा नगरको नदीजन्य पदार्थसम्बन्धी मापदण्डमा उल्लेख छ । मापदण्डअनुसार काम भने भएको छैन ।
नदीजन्य पदार्थ उत्खनन भएको स्थानबाट ओसारपसार गर्ने समय बिहान ७ देखि साँझ ६ बजेसम्म कायम गरिए पनि नदीमा बिहानैदेखि रातिसम्म उत्खननको काम भइरहेको छ ।
नदी उपयोगको विषयमा स्थानीय तहबीच विवाद
तिनाउ नदी उपयोगको विषयलाई लिएर जिल्लाका विभिन्न पालिकाबीच विवाद देखिएको छ । तिनाउ नदीको बालुवा, ढुङ्गालगायत वस्तु उत्खननका विषयमा बुटवल उपमहानगर, तिलोत्तमा, सियारी, शुद्धोधनलगायतका पालिकाबीचमा विवाद देखिएको हो । सामान्यतया पानी बग्ने मूलधारलाई सिमाना मान्ने सहमति यसअघिका जनप्रतिनिधिले गरे पनि अहिलेका जनप्रतिनिधि यसमा सहमत नदेखिएपछि समस्या भएको हो ।
बुटवल क्षेत्रमा नदीको बीच भागबाट सिमाना तय गर्नुपर्ने उपप्रमुख अर्याल बताउँछिन् । “नदीको बीच भागबाट सिमाना तय हुनुपर्छ भन्ने हाम्रो भनाइ हो, तर कसरी गर्दा प्रभावकारी हुन्छ रु ऐन नियमले के भन्छ अध्ययन गरिरहेका छौँ”, उनले भनिन् ।
पालिकाका यसअघिका जनप्रतिनिधिबीचमा तिनाउ नदीको पानीको बहाबलाई आधार मानेर सीमा तय गरिएको थियो । अहिले नदीको बीचको भागबाट सीमा किटान हुनुपर्ने भनाइ कतिपय पालिकाको रहेको तिलोत्तमाका नगर उपप्रमुख जगेश्वरदेवी चौधरी बताउँछिन् ।
“नदीको पानीको पानीको बहाव क्षेत्रलाई आधार मानेर वातावरणीय प्रभाव मूल्याङ्कन गरी नदीजन्य पदार्थको काम अघि बढाएका हौँ”, उपप्रमुख चौधरी भन्छिन् । प्राविधिकले बुझ्ने विषय भएकाले बुटवल र तिलोत्तमाका प्राविधिक राखेर कार्यदल बनाइ सीमा मिचिए नमिचिएको सम्बन्धमा अध्ययनपश्चात जिल्ला समन्वय समितिमा प्रतिवेदनसमेत बुझाइ सकिएकाले अब विवाद गर्नुपर्ने अवस्था नरहेको उनको भनाइ छ ।
सीमा विवाद निराकरण सम्बन्धमा स्थानीय सरकार सञ्चालन ऐन–२०७४ अनुसार एउटै जिल्लाका पालिकाबीच सीमा विवाद समाधान गर्ने पहिलो निकाय सम्बन्धित जिल्ला समन्वय समिति हो । त्यहाँ समाधान नभए सङ्घीय मामिला मन्त्रालयले छिनोफानो गर्ने व्यवस्था छ ।
निरा गौतम\रासस |
असार २ देखि विद्यालय बन्द गर्ने आन्दोलनरत कर्मचारीको चेतावनी काठमाडौं । सामुदायिक विद्यालयका आन्दोलनरत कर्मचारीले आफ्ना माग पूरा नभए २ असारदेखि विद्यालय नै बन्द गर्ने चेतावनी दिएका छन् ।
काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका कर्मचारीले १ असारसम्ममा आफूहरुको माग पूरा नभए २ असारदेखि विद्यालय नै बन्द गर्ने चेतावनी दिएका हुन् ।
न्यूनतम पारिश्रमिकसहित संघीय शिक्षा ऐन जारी गर्नुपर्ने र शिक्षकहरूको सेवा सुविधा बढाउनुपर्ने माग राखेर रिले अनशन थालेका कर्मचारीले सरकारलाई विद्यालय नै बन्द गर्ने चेतावनी दिएका हुन् ।
सोमबारदेखि काठमाडौंको भद्रकालीमा नेपाल विद्यालय कर्मचारी परिषद् संघर्ष समितिमा आवद्ध कर्मचारीले रिले अनशन सुरु गरेका छन् । |
सामुन्द्रिक तट सम्झाउने नारायणी किनार चितवन। आइतबार साँझ अबेर नारायणगढ बजार नजिकैको नारायणी नदी किनारमा धेरै मानिसको चहलपहल थियो। एक जना भन्दै थिए, “मुम्बईको जुहु चौपटी बीच जस्तै बनेछ।” सँगै रहेका अर्का व्यक्तिले थपे, “थाइल्याण्डको समुन्द्र किनारको झल्को आयो।”
उनीहरुको भनाइअनुसार नारायणी नदी किनारलाई भरतपुर महानगरपालिकाले ‘सिबीच मोडल’ मा विकास गरिरहेको छ। समुन्द्रिक किनारको झल्को दिने गरी पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न महानगरले केन्द्रको समन्वयमा बजेट ल्याएर विकासका पूर्वाधार धमाधम निर्माण गरिरहेको छ।
नारायणी नदीको पुलबाट उत्तरतर्फको भागलाई सरकारका तीन मन्त्रालयसँग महानगरपालिकाले सँगसँगै काम गरिरहेको छ। सोही किनारमा बनेको फुटपाथमा आज बिहान हिँडिरहेका सर्वसाधारणले पनि नदी किनारको विदेशको झल्को दिने गरी बनेकामा प्रशंसा गरिरहेका थिए। स्थानीय दियालो रोडका बटुकलाल श्रेष्ठले नदी किनारको विकास देखेर खुसी प्रकट गरिन्।
सँगै रहेकी विजया श्रेष्ठले भनिन्, “पहिला फोहर थियो, थाङ्नाथुङ्नी फालेको देखिन्थ्यो, अहिले कस्तो राम्रो भएको छ।” सर्लाहीका मनसारी विकलाई नारायणी किनार पहिलाको भन्दा अर्कै भएको महसुस भयो।
उनले भनिन्, “पहिले पनि आएको थिएँ, अहिले अचम्मै भएछ।” स्थानीय श्यामलाल श्रेष्ठले नदी किनार निकै राम्रो भएको भन्दै सवारीसाधन भने आउन दिन नहुने बताए। उनले भने, “नदी किनारले रुप फेरेको छ, यसलाई अझै राम्रो बनाउनु पर्छ।”
सो ठाउँमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको नारायणी नदी व्यवस्थापन आयोजनाले नदी तटबन्धनसँगै सौन्दर्यकरणको काम सम्पन्न गरेको छ। सो मन्त्रालयको पर्यटन विभागले पद मार्ग, पार्किङस्थल लगायतका काम अन्तिम चरणमा पुर्याएको छ।
सहरी विकास मन्त्रालयअन्तर्गत सघन सहरी तथा भवन निर्माण आयोजनाले आरतीस्थल निर्माण र विद्युतीकरणको काम गर्दैछ।
नारायणी नदी व्यवस्थापन आयोजनाका निर्देशक गणेश मरासिनीका अनुसार कार्यालयले नारायणगढको नारायणी पुलदेखि उत्तरतर्फ नौ सय ८५ मिटर क्षेत्रमा पक्की तटबन्ध निर्माण गरेको छ।
नदीको सतहदेखि दुई दशमलव पाँच मिटर उचाइमा ११ खुट्किला निर्माण गरिएको छ। रु १५ करोड ९२ लाखमा सम्झौता भई काम सम्पन्न भएको छ।
खुट्किलाको सतह दुई मिटर चौडा छ भने अन्य खुट्किला ५० सेन्टिमिटर चौडा छन्। माथिल्लो तह चार दशमलव पाँच मिटर फराकिलो बनेको छ। फराकिलो ठाउँमा मानिस बेलुका र बिहान हिँडडुल गर्ने गरेका छन्।
सो भागको ठाउँठाउँमा आकर्षक गोलाकार बनाएर वृक्षरोपण गरिएको छ। पाँच मिटरको फरकमा बिरुवा लगाइएको छ। महानगरपालिकाका इञ्जीनीयर अस्मिता खनालका अनुसार पर्यटन विभागले नदीको तटीय क्षेत्रमा काम गरिरहेको छ।
उनका अनुसार नारायणी नदी किनारलाई व्यवस्थित र सुन्दर बनाउन महानगरको गुरुयोजनाअन्तर्गत दुई दशमलव चार किलोमिटर पदयात्रा, एक सय हाराहारी चारपाङ्ग्रे सवारी अट्ने तीन पार्किङस्थल, बगैँचालगायत निर्माणका काम भइरहेका छन्।
रु छ करोड ५० लाख बजेटमा सो काम भइरहेको छ। यो काम ९० प्रतिशत सकिएको उनको भनाइ छ। यसै ठाउँमा बगैँचा, फुटबल मैदान, भलिबल, ब्याडमिन्टन कोर्ट, बीच भलिबल, अन्य खेलका लागि छुट्टै भूभाग, बालुवा तथा बालबालिकाको खेल, अवलोकन क्षेत्र, विश्रामस्थल, शौचालय, पार्किङलगायत संरचना निर्माण गर्ने गुरुयोजनामा उल्लेख छ।
खनालका अनुसार नारायणीको पुलबाट नारायणी लिफ्ट सिँचाइसम्मको दुई दशमलव पाँच किलोमिटर लामो सो भूभाग १५ बिघा क्षेत्रमा फैलिएको छ।
तटबन्ध बाहेक रु २९ करोड ३१ लाख खर्च हुने गरी विस्तृत अध्ययन प्रतिवेदन तयार भएर काम भएको हो। नदी किनारको दुईतर्फको छेउमा हाल भएको संरचनालाई व्यवस्थित गरिँदै छ। बीचको भागमा धार्मिक क्षेत्र, प्रदर्शनी क्षेत्र र खेल क्षेत्रका लागि छुट्टाछुट्टै स्थान तय गरिएको छ। ती क्षेत्रभित्र पैदलमार्ग, साइकल मार्ग, प्रदर्शनी, आरती, धार्मिक प्रवेश र हरियाली क्षेत्र रहने छन्।
नारायणी नदीको सोही क्षेत्रमा आरती प्लेटफर्म निर्माण गरिँदै छ। आरती क्षेत्र वरपर बत्ती राखिने छ। सघन सहरी तथा भवन निर्माण आयोजनाले झण्डै रु दुई करोडको लागतमा कामको तयारी गरेको छ। बोलपत्र आह्वान भइसकेकाले छिट्टै काम सुरु हुँदैछ।
महानगरपालिकाका प्रमुख रेनु दाहालले विदेश जाँदा समुन्द्रिक किनारमा देखिएको सौन्दर्यकरणलाई मध्यनजर गर्दै यहाँ त्यही मोडेलमा विकास गरिएको बताइन्।
आफू पहिलो पटक प्रमुख भएकै समयदेखि यो काम अघि बढाइएको जनाउँदै उनले देख्ने गरी काम हुन थालेको बताइन्। नारायणी किनारलाई अन्तर्राष्ट्रियस्तरको सौन्दर्यकरण गरी पर्यटकको नयाँ गन्तव्यका रुपमा विकास गरिएको उनको भनाइ छ।
दाहालले भनिन्, “महानगरको गौरवको आयोजनाका रुपमा लिएर यसलाई गुरुयोजना बनाइ काम गरिरहेका छौंं।” यसलाई अझै व्यवस्थित बनाउने गरी काम हुने उनको भनाइ छ।
आउँदा दिनमा गुरुयोजनाअनुसारको काम सम्पन्न हुँदै गर्दा नदी किनार थप आकर्षक बन्ने उनले जानकारी दिइन्। आजभोलि बिहानबेलुका नदी किनारमा स्थानीयको निकै भीड हुने गरेको छ।
महानगरका उपप्रमुख चित्रसेन अधिकारीले विश्वका ठूला सहरमा पर्यटकको मुख्य आकर्षण नदी र समुन्द्रिक किनार हुने जनाउँदै नारायणी नदीलाई उपयोग गरी पर्यटकीय गन्तव्यका रुपमा विकास गरिएको बताए। उनले भने, “चितवन अब पर्यापर्यटन मात्रै होइन, जल पर्यटनका लागि पनि उपयुक्त थलो बन्दै छ।” |
हाइमास्ट तथा सडक बत्तिबाट बेथान र मन्थली झिलिमिली काठमाडौँ। रामेछाप जिल्लाको सदरमुकाम मन्थली र सोही जिल्लाको सुनापति गाउँपालिका–४ बेथानमा हाइमास्ट र स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट) जडान गरिएको छ। नेपाल विद्युत प्राधिकरणले पालिकाहरुसँगको साझेदारीमा मन्थली नगरपालिका र बेथानको मुख्य–मुख्य चोकहरुमा हाइमास्ट र सडकमा बत्ति राखेको छ।
बत्ति राखेपछि रातिको समयमा ती क्षेत्रहरु झिलिमिलि बनेका छन्। मन्थली नगरपालिमा पर्ने करिब ६ किलोमिटर सहरी क्षेत्रमा कम विद्युत् खपत गर्ने तर बढी उज्यालो दिने ऊर्जा दक्षतायुक्त १७० वटा सडक बत्ति जडान गरिएको छ। जसमा ६० वाटका एस्ट्रो लाइट १९ वटा, ६० वाटकै स्मार्ट लाइट ८० वटा र ९० वाटका स्मार्ट लाइट ७१ वटा जडान गरिएको छ।
बसपार्क र बिनिता चोकमा १२.५ मि. अग्लो पोलमा चारै दिशामा उज्यालो छर्ने अत्याधुनिक हाइमास्ट लाइट जडान गरिएको छ। कम विद्युत खपत गर्ने तर उज्यालो बढी दिने वत्ति जडान गरिएको हो। सडक बत्तिको लागत एक करोड ५६ लाख रुपैयाँ रहेको छ।
यसैगरी, सुनापति गाउँपालिकाको बेथान क्षेत्रमा ३३१ स्मार्ट लाइट जडान गरिएको छ। जसमा ६० वाटका एस्ट्रो र स्मार्ट लाइट क्रमशः १४८ र १८३ वटा रहेका छन्। १२.५ मिटर अग्लो पोलमा ३ वटा हाइमास्ट लाइट जडान गरिएको छ। सडक बत्तिको लागत २ करोड रुपैयाँ रहेको छ।
मन्थली क्षेत्रमा जडान गरिएको सडक बत्तिको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र नगरपालिकाका प्रमुख लब श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका थिए। बेथानमा जडान गरिएको बत्तिको कार्यकारी निर्देशक घिसिङ र सुनापति गाउँपालिकाका अध्यक्ष ठूलोकान्छा तामाङले संयुक्त रुपमा उद्घाटन गरेका हुन्।
कार्यक्रममा कार्यकारी निर्देशक घिसिङले विद्युत् पुगेका ठाउँमा भइरहेको लोडसेडिङको अन्त्यपछि अहिले २४सै घण्टा अँध्यारोमा बसिरहेका प्रत्येक नागरिकको घरमा विद्युत् पुर्याउने काम अभियानकै रुपमा भइरहेको बताए।
‘देशभित्र उत्पादित विद्युत् यहीं खपत गर्ने, हिउँदमा माग अनुसार अपुग रहेको विद्युत् पुग्ने गरी जलविद्युत आयोजनाहरु बनाउने र वर्षायाममा देशभित्र खपत गरी बढी भएको विद्युत् निर्यात गर्ने रणनीतिका साथ अगाडि बढेका छौं’, कार्यकारी निर्देशक घिसिङले भने।
स्ट्रिट लाइटले रातको समयमा सडकको यात्रा सुरक्षित र सडक तथा सहरी सौन्दर्यलाई बृद्धि गरी रात्रिकालीन सौन्दर्यता बढाउने छ। सडक वत्तिको महसुल सम्बन्धित पालिकाहरुले तिर्ने व्यवस्था गरिएको छ।
प्राधिकरणको प्रणालीमा रहेको फिडर प्यानलबाट स्वचालित रुपमा स्मार्ट लाइटलाई नियन्त्रण गर्न सकिन्छ। स्मार्ट वत्ति प्राधिकरणको सर्भरसँग सिधै जोडिएको छ। सफ्टवेयरबाटै अँध्यारो हुँदा बत्ति बल्ने र उज्यालो हुँदा निभ्ने स्वचालित व्यवस्था छ। सफ्टवेरबाट विद्युतको महसुलको बिलिङ गरिन्छ। वत्ति बले/नबलेको अनुगमन पनि सफ्टवेयरबाटै गर्न सकिन्छ।
प्राधिकरणले उज्यालो सहर अभियानअन्तर्गत पालिकाहरुसँगको समन्वय र साझेदारीमा मुख्य सडक, ऐतिहासिक सांस्कृतिक सम्पदाहरु, विश्व सम्पदा सूचीमा सूचीकृत तथा पर्यटकीय स्थानहरुमा सजावटयुक्त आधुनिक बत्ति (स्मार्ट लाइट) जडान गरिरहेको छ।
ठेक्का सम्झौता अनुसार सडकबत्ति नियमित मर्मत सम्भार पाँच वर्षसम्म निर्माण व्यवसायीले गर्ने छ। पोल, तार, बत्तिलगायतका संरचनाहरु प्राधिकरणकै स्वामित्वमा रहने छन्। यसबाट सहरको सौन्दर्य अभिवृद्धि हुने, विद्युत् माग बढ्ने र रातिको खेर जाने विद्युत् पनि खपत हुने प्राधिकरणको विश्वास छ। |
स्टील उद्योगमा सरकारी नीतिको असर : राजश्व घट्दो, जोखिममा श्रमिक भैरहवा। स्टील उद्योगमा सरकारले गरेकाे व्यवस्थाले उपभोक्ता मारमा परेका छन्। सीमित उद्योगीलाई फाइदा पुग्ने गरी स्पञ्ज आइरन तथा विलेट्स आयात गर्दा लाग्ने भन्सार महसुल एवं अन्तशुल्क दरले स्टील रोलिङ उद्योगमा असर पुगेको हो।
नेपाल सरकारको आर्थिक विधेयक २०८० मार्फत् प्रतिस्थापन विधेयक २०७८ ले ल्याएको फलामे छड उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ विलेट्स तथा स्पञ्ज आइरनको भन्सार विन्दुमा लाग्ने भन्सार महसुल एवं अन्तशुल्कमा गरिएको एकपक्षीय व्यवस्थालाई निरन्तरता दिएकोले यसबाट तत्कालीन र दीर्घकालिन आर्थिक तथा वातावरणीय प्रभाव पर्ने गरेको उद्योगीहरुको भनाइ छ।
उनीहरुले तयारी वस्तुमा लाग्ने अन्तशुल्क सरकारले कच्चा पदार्थमै लगाउनु उचित नभएको बताए। सीमित उद्योगलाई फाइदा पुग्ने उद्देश्यले गरिएको यो व्यवस्थाले एकातर्फ उद्योगहरु बन्द हुने अवस्था पुगेका छन् भने उपभोक्ताहरुले गुणस्तरीय बस्तु प्रयोग गर्न नपाएको उनीहरूको गुनासो छ।
स्पन्ज आइरनको भन्सार महसुल शून्य र कच्चा पदार्थको रुपमा रहेको बिलेटमा भन्सार र अन्तशुल्क थपिदिएपछि उद्योगीहरु थप संकटमा परेका हुन्। सरकारको यो विभेदकारी र असहयोगी नीतिका कारण स्टिल उद्योगी विस्थापित हुने अवस्थामा पुगेको पञ्चकन्या समूहका महाप्रबन्धक देवेन्द्र साहुले भने।
सरकारको नीतिका कारण फलामे डण्डीको मूल्य बढ्न जाने र बजारमा प्रतिष्पर्धा गर्न नसकिने जनाउँदै उनले उद्योगीले उद्योग सञ्चालन गर्न नमानेको बताउदै यस क्षेत्रका ८ मजदुरहरु विस्थापनको त्रासमा रहेको र केही उद्योग बन्द समेत भएको बताए।
आर्थिक विधेयक २०७९ ले फलामे डन्डीको कच्चा पदार्थ स्पञ्ज आइरनको आयातमा भन्सार महसुल १ प्रतिशत मात्र कायम गरी अन्तशुल्क पूर्ण छुट गरेको छ। नेपालमा ३० वटा स्टिल (डन्डी) उद्योगहरुमध्ये स्पञ्ज आइरन तथा पत्रु पगालेर डण्डी बानाउने ८ उद्योग मात्रै छन कच्चा पदार्थको लागतमै उनीहरुसँग प्रतिस्पर्धा गर्न नसकिने उद्योगीहरुको भनाई छ।
स्पञ्ज आइरन तथा बिलेट्सबाट छड बनाउँदा भन्दा बिलेटबाट छड बनाउँदा लागत प्रतिकिलोमै ११ देखि १२ रुपैयाँसम्म महँगो पर्न जाने उनले बताए । एकतर्फ गुणस्तर पनि नहुने, उत्पादन गर्दा प्रदूषण उच्च हुने भएकोले वातावरणमा प्रत्यक्ष असर गरिरहेको र उत्पादन गर्दा श्रमिकहरुको ज्यान पनि जोखिम रहने गरेको उद्योगीहरुको भनाइ छ ।
सरकारको नीतिले अहिले २५ प्रतिशत मात्रै छड विलेट्सबाट उत्पादन भइरहेका छन, जुन २ वर्ष अगाडि ८५ प्रतिशत रहेको थियो। विलेटसबाट सरकारले ५ प्रतिशत भन्सार असुल गरेकोमा अहिले १ प्रतिशतमा स्पञ्ज आइरन पैठारी हुँदा राजश्व संकलनमा पनि कमि आएको छ। परिमाणमा स्पञ्ज आइरनको पैठारी बढेपनि यसको फाइदा सीमित उद्योगीले लिइरहेका छन्। भन्सारबापतको राजश्व संकलनमा बढोत्तरी नहुँदा राजश्व लक्ष्यमा कमि आएको छ।
पत्रु पागलेर फलामे छड उत्पादन गर्ने र त्यसमा मिसाउन चाहिने कच्चा पदार्थ (स्पन्ज आइरन) पैठारी गर्दा भन्सार दर १ प्रतिशत र अन्तशुल्कलाई शुन्य प्रतिशतमा झारेका कारण सोझै बिलेड आयत गरेर डण्डी उत्पादन गर्दा महंगो पर्ने हुँदा प्रतिष्पर्धा गर्न नसकिने स्टील उद्योग व्यवसायी सुरज उप्रेतीले बताए।
‘हामीले उत्पादन गर्ने छडमा एकरुपता हुने र चाहिने जति रसायनको अनुपात भएकोले गुणस्तरमा कुनै कमि हँुदैन, पत्रु पगालेर बन्ने छडमा रसायनको अनुपातको एकरुपता नभएकोले उपभोक्ताले गुणस्तरीय छड उपभोग गर्न पाउँदैनन्,’ उनले भने। गुणस्तरीय उत्पादन दिदा प्रतिस्पर्धा गर्न नस्कने अवस्था आएकोले ९ महिनादेखि उद्योगी बन्दसरह रहेको उप्रेतीले जानकारी दिए।
हाल रुपन्देहीका ६ वटा स्टील उद्योग सरकारको राजश्व नीतिको मारमा परेका छन्। जसको कारण पञ्चकन्या स्टीलले ४० प्रतिशत मात्रै उद्योग चलाएको छ। यस्तै एस आर स्टिलले २५, काठमाठौं स्टीलले ४० प्रतिशत मात्रै उद्योग चलाउँदै आएका छन्। गोयनका स्टील, विनायक स्पात र एभरेष्ट रोलिङले उद्योग नै बन्द गरेका छन्। |
धारा र चापाकलबाट पनि आउन छोडेपछि ट्यांकरबाट पानी वितरण जलेश्वर। जलेश्वर नगरपालिकाले नगर क्षेत्रभित्रका पानीका स्रोत कम भएपछि ट्यांकरबाट पानी वितरण गर्न थालेको छ।
पछिल्लो समय यहाँका धारा, चापाकल र अन्य पानीका स्रोतबाट पानी आउन छाडेको छ। जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह सोनारले नगरको विभिन्न वडामा ट्यांकरबाट पानी वितरण भइरहेको जानकारी दिए।
बाह्र वडा रहेको जलेश्वर नगर क्षेत्रभित्र १२ हजार तीन सय ८० घरधुरी रहेकामा प्रायः घरधुरीमा जडान रहेको धारा र चापाकल सुकेर पानी आउन बन्दको जनाइएको छ। मधेस प्रदेशका भू तथा वातावरणविज्ञ बेचन महतोले नगर क्षेत्रभित्रको जलस्तर कम हुँदा पानीका स्रोत सुकेको बताए।
जलेश्वरमा यसअघि कहिले पनि पानीको अभाव नभएको बताइएको छ। जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित बर्दिबास , गौशाला, भंगहा, औरही, बलवा, रामगोपालपुर नगरपालिका र सम्सी गाउँपालिकाको समेत पानीको समस्या भएको बताइएको छ। महोत्तरीका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले खानेपानीको अभाव हुन नदिन काम भईराखेको बताए। – रासस |
साना व्यापारमा रमाउँदै हरवाचरवा महिला सप्तरी। कुनै बेला साहु महाजनको खेतबारीमा मजदुरी गरेर परिवार पाल्दै आएकी सप्तरीको बोदे बसाइन नगरपालिका–७ हैठीका कलमतदेवी सदाको पहिचान यतिबेला फेरिएको छ।
केही वर्षअघिसम्म दुई छाक कसरी टार्ने भन्ने चिन्ताले पिरोलिएकी उनको अब भन्ने त्यो दुःखको दिन गएको छ। पुँजीका आभावमा आर्थिक उन्नति गर्नसमेत सोच नबनाएकी सदा अहिले किराना व्यापार गरेर राम्रो आम्दानी गर्न थालेपछि उनको दुःखको दिन गएको हो।
गाउँको साहुमा हरवाचरवाको काम गरी जीविकोपार्जन गर्दै आएकी सदाको परिवारमा केही वर्षअघिसम्म दुःखको पहाड लागेको थियो तर ऋण लिएर गाउँमै किराना पसल खोलेपछि दुःख विस्तारै हराउन थालेको सदा बताउँछिन्।
“केही नगरी जीवनस्तर उकास्न सकिन भन्ने बुझेर दुई वर्षअघि न्यून पुँजीमा किराना पसल सञ्चालन गरे अहिले जीवनमा ठूलो परिवर्तन आएको छ”, उनी भन्छिन्, “व्यापार गर्ने इच्छा भए पनि पुँजी अभावका कारण त्यसले मूर्तता पाउन सकेको थिएन।’ तर २०७८ सालमा द फ्रिडम फण्डको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्रले सञ्चालन गरेको हरवाचरवा सशक्तीकरण अभियान कार्यक्रमअन्तर्गत गठित दिनाराम दिनाभद्री बचत तथा ऋण समूहबाट ऋण लिएर व्यापार सुरु गरेपछि आफ्नो सपना साकार भएको उनको कथन छ ।
कलमतदेवीले पसल चलाउन थालेपछि अहिले उनका श्रीमान् विहारी सदाले पनि उनलाई सघाइरहेका छन्। “म पसल चलाउँछु, श्रीमान्ले नजिकैको बोदे बसाइन बजार र मानराजबाट पसलका लागि चाहिने सामान ल्याई दिनुहुन्छ”, कलमतदेवी भन्छिन्, “अहिले हामी दुवै जना मिलेर पसल चलाइरहेका छौँ।” पसलबाट दैनिक एक हजारदेखि एक हजार पाँच सयसम्म आम्दानी भइरहेको उनको कथन छ।
“पहिला गाउँको साहु महाजनमा मजदुरी गर्दै आएको थिए”, कलमतदेवीका श्रीमान् विहारी सदा भन्छन्, “अहिले केही वर्षदेखि मजदुरी छाडेर किराना पसलमा श्रीमतीलाई सघाउँदै आएको छु।” अरुको मजदुरी गर्नुभन्दा आफ्नै व्यापार गरेर राम्रो आम्दानी गर्न पाएकोमा असाध्यै खुसी लागेको उनको अनुभव छ।
यस्तै सप्तरीको शम्भुनाथ नगरपालिका–१० जमुवाकी लक्ष्मीकुमारी रामले पनि गाउँमा किराना पसल चलाएर राम्रो आम्दानी गर्दै आएकी छन्। सामान्य लेखपढ गर्नसमेत नजानेकी लक्ष्मीलाई बिहान हुने बित्तिकै कतिबेला पसल खोल्ने, कहाँबाट सामान ल्याउन र बिक्री गर्ने भन्नेमा हतारो हुन्छ।
दुई वर्षअघिसम्म पुँजीको आभावमा आयआर्जनको कुनै काम गर्न नसकेकी उनी अहिले भन्ने गाउँ नजिकै किराना पसल सञ्चालन गरी राम्रो आम्दानी गर्दै आएकी छन्। आयआर्जनको गतिलो आधारसँगै लक्ष्मीको जीवनमा परिवर्तन मात्र होइन, परिवारको पहिचानसमेत फेरिएको छ।
आयआर्जनको ठोस आधार नपाउँदा केही वर्षअघि सम्म गाउँकै साहु महाजन कहाँ बनिबुतो गर्दै आएको विगतको अतित सम्झिँदै लक्ष्मी भन्छिन्, “पहिले हरवाचरवाको रुपमा ज्याला मजदुरीमा सधैँ काम गरेर जीविकोपार्जन गरिरहेको थिएँ, बालबच्चालाई पालनपोषण गर्न धौ–धौ हुन्थ्यो।” अहिले भन्ने स्वतन्त्ररुपमा सानो व्यापार गरेर राम्रो आम्दानी हुन थालेको छ, जसका कारण सन्तुष्ट छु, उनको भनाइ छ।
“दिनभरि ज्याला मजदुरीमा काम गर्दा मात्र थोरै मात्र ज्याल पाउथ्ये, त्यस कारण परिरवार चलाउन समस्या हुन्थ्यो”, लक्ष्मी भन्छिन्, “तर अब मेरो त्यो दुःखको दिन कटेको छ।” अहिले तरकारी व्यापार गरेरै पाँच जना परिवारको गुजारा चलाउँदै आएको छु, उनको भनाइ छ।
आर्थिक विपन्नता र चेतनाको अभावमा साहु महाजनमा श्रम गर्दै आएकी लक्ष्मीकुमारी, कलमतको जीवनमा आएको यो परिवर्तन कुनै चमत्कारिक शक्तिबाट नभई श्रीपुर्राज सामुदायिक विकास केन्द्रले सञ्चालन गरेको हरवा सशक्तीकरण कार्यक्रमबाट आएको हो।
“सुरु सुरुमा म धेरै लजाउँथे, के गरौँ नगरौँ भन्ने थाहै थिएन, सधैँ मजदुरी गरेर जेनतेन परिवार मात्रै पालथ्ये”, लक्ष्मी भन्छिन्, “तर, जब श्रीपुर्राज सामुदायिक विकास केन्द्रले गाउँमै हरवाचरवा परिवारलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गरे, तबदेखि हाम्रो जीवनमा परिवर्तन आयो।”
द फ्रिडम फण्डको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्रले सञ्चालन गरेको सामाजिक परिचालन तथा शिक्षाको माध्यमबाट हरवाचरवाको सशक्तीकरण कार्यक्रमअन्तर्गत गाउँकै महिलाको सक्रियामा गठन भएको बचत तथा समूहमा आबद्ध भएकी उनीहरु त्यही समूहबाट ऋण लिएर व्यापार सुरु गरेको बताउँछन्।
कलमतदेवी आबद्ध दिनाराम दिनाभद्री बचत तथा ऋण समूहमा ३० जना सदस्य आबद्ध छन्। हरेक सदस्यले बचत समूहका मासिक रु एक सयका दरले बचतसमेत गर्दै आएको समूहका अध्यक्ष अधिकलाल सदाले बताए।
सदस्यले मासिकरुपमा गरेको बचत रकम रु २४ हजारभन्दा बढी पुगेको छ, समूहका अध्यक्ष सदाले भने, “बचत भएको रकम समूहकै सदस्यमा ऋण लगानी गर्ने गरेका छौँ।” जसले महिलामा बचतसँगै ऋण प्रवाहको समेत विकास भएको उनको बुझाइ छ।
पछिल्लो केही वर्षयता हरवाचरवा दलित महिलामा आएको परिवर्तन र देखिएको उत्साहजनक सहभागिताले सकारात्मक सन्देश दिएको श्रीपुर्राज सामुदायिक विकास केन्द्रका सहजकर्ता सञ्जीवकुमार यादवको भनाइ छ। |
सूर्यविनायक-धुलिखेल सडकः पुरातात्विक वस्तु नष्ट नगर्न परिपत्र काभ्रे। पुरातत्व विभागले सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक विस्तारका क्रममा पुरातात्विक वस्तु नष्ट भएको जनाउँदै त्यस्ता कार्य रोक्न जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकलाई परिपत्र गरेको छ।
विभागले अरनिको राजमार्गअन्तर्गत बनेपाको भैँसेपाटी क्षेत्रमा डोजर लगाई बाटो खन्ने क्रममा प्राचीन इँटाको पर्खाल, पानीको स्रोत, प्राचीन काठ र शिला फेला परेकाले तत्कालै डोजर लगाउने कार्य रोक्न भनेको हो।
सडक विस्तारका क्रममा पुरातात्विक वस्तु नष्ट भएको जनाउँदै त्यस्ता कार्य तत्काल रोक्न आइतबार परिपत्र गरिएको विभागका पुरातत्व अधिकृत भीष्म बाँस्कोटाले जानकारी दिए।
उनका अनुसार प्राचीन इँटाको पर्खाल, पानीको स्रोत, प्राचीन काठ र शिलालाई संरक्षण गर्नसमेत आग्रह गरिएको छ । यस्तै विभागले राजमार्गअन्तर्गत पर्ने बनेपा नगरपालिकालाईसमेत उक्त कार्य रोक्ने सम्बन्धमा पत्राचार गरेको छ।
गत फागुनदेखि अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार सुरु गरिएको थियो। उक्त सडकखण्ड तीन वर्षमा सक्ने गरी भक्तपुरको सूर्यविनायक-साँगा र साँगा-धुलिखेलको सडकखण्ड विस्तार गर्न छुट्टाछुट्टै दुई चरणमा सम्झौता भएको थियो।
उक्त राजमार्ग निर्माणको २५ वर्षपछि सूर्यविनायक-धुलिखेल कूल १५ दशमलव पाँच किलोमिटर सडकखण्ड चार लेनमा विस्तार थालिएको हो।
सूर्यविनायक-धुलिखेल, धुलिखेल-सिन्धुली-बर्दिबास सडक आयोजना कार्यालयका अनुसार साँगा-धुलिखेल सडकखण्ड विस्तार कार्यका लागि रु चार अर्ब पाँच करोड ६४ लाखका ठेक्का लगाइएको छ भने दोस्रो चरणमा निर्माण गरिने सूर्यविनायक-साँगा सडकखण्ड भने सात दशमलव पाँच किमि रहेको छ।
उक्त खण्डको ठेक्का रु तीन अर्ब ८८ करोड ९३ लाखमा हालै सम्झौता भइसकेको विभागले जनाएको छ।
यस्तै विभागको आग्रहमा काभ्रेपलाञ्चोकको पाँचखाल नगर क्षेत्रमा भेटिएका ऐतिहासिक सम्पदा सुरक्षार्थ जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले तनि वर्षअघि सम्पदा क्षेत्रमा ‘खनजोत’ गर्न रोक लगाएको छ।
कार्यालयले सम्पदा क्षेत्रमा ‘खनजोत’ नगर्न र गर्नुपरे विगागको स्वीकृति र सहमति गराउन पाँचखाल नपालाई पत्रमार्फत जानकारी गराएको थियो। विभागले भने सम्पदा क्षेत्रमा खनजोत गरे नगरेको निरीक्षण गर्दै आइएको जनाएको छ।
पाँचखाल क्षेत्रमा खोज, उत्खननका क्रममा भेटिएका सम्पदा-सामग्री तथा स्तम्भ लिच्छविकालीन र मध्यकालीन ऐतिहासिक सम्पदा भएपछि विभागले प्रारम्भिक चरणमा बेलायतको विज्ञ टोलीसहित विभागका पुरातत्वविद्ले ‘जियोफिजिकल सर्वे’ गरिसकेको छ। रासस |
बीमा कम्पनीले पशुधनको बीमा गर्न छाडिदिए रत्ननगर। जिल्लामा लम्पीस्किन संक्रमणबाट पशु चौपायाको मृत्यु हुने क्रम बढेपछि बीमा कम्पनीले पशुधनको बीमा गर्न छाडिदिएका छन्।
चितवनमा रहेका बीमा कम्पनीले पशुपालक कृषकको गाईभैँसीको बीमा नगदिएको भन्दै कृषकले आइतबार प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका छन्।
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले विगत एक महिनादेखि बीमा कम्पनीले गाईभैँसीको बीमा गर्न छोडेका बताए। “पशुचौपायामा लम्पीस्किन सङ्क्रमण बढेसँगै बीमा कम्पनीले पशुधनको बीमा गर्न छोडेका छन्”, उनले भने, “पहिल्यै बीमा गरिएका पशुको समेत लम्पीस्किनबाट मृत्यु भएपछि बीमा रकम दिन ढिलासुस्ती गरेका छन्।”
चितवनमा क्रियाशील कुनै पनि निर्जीवन बीमा कम्पनीले अहिले पशु बीमा नगरेका उनको भनाइ छ। “चितवनमा अन्य कम्पनीसँगै शिखर इन्सुरेन्स कम्पनीले अनिवार्यरुपमा गाईभैँसीको बीमा गर्ने गरी सरकारसँग सम्झौता भएको छ”, उनले भने, “अहिले बीमा गरिदिन कृषकले बोलाउँदा उनीहरुले पशु बीमा गर्न नसकिने बताउँदै आएका छन् ।”
कृषकको बीमा गरिएका पशुधनको मृत्यु भएको क्षतिपूर्ति रकम तुरुन्त पाउनुपर्ने र नयाँ बीमा पनि तुरुन्तै गरिनुपर्ने कृषकको भनाइ छ। घरपालुवा जनावरको बीमा गर्दा ८० प्रतिशत प्रिमियम सरकारले तथा २० प्रतिशत प्रिमियम कृषकले तिर्ने गरी सरकारले व्यवस्था गरेको छ।
कृषकको गुनासो आएपछि चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले कृषि मन्त्रालयमा टेलिफोनबाटै कृषकको गुनासो राखे। “तपाईहरुको समस्याको बारेमा मैले कृषि सचिवलाई टेलिफोन गरेर जानकारी गराएँ”, कृषि सचिवसँगको कुराकानीबारे जानकारी गराउँदै प्रजिअ पौडेलले भने, “सचिव ज्यूले सार्वजनिक सूचना जारी गरेर कृषकको समस्या समाधान गराउँछौँ भन्नुभएको छ।”
कृषि सचिवलाई कृषकको गुनासो जानकारी गराएसँगै प्रजिअ पौडेलले जिल्लामा कार्यरत बीमा कम्पनीलाई बोलाएर छलफल गराउन निर्देशन दिएका छन्। प्रजिअ पौडेलले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख वरिष्ठ पशु विकास अधिकृत सुशील केसीलाई बीमा कम्पनीलाई बोलाएर कृषकको समस्या सम्बोधन गर्न निर्देशन दिए।
“कृषकको पशु बीमा गर्न तथा मृत्यु भएका पशुको क्षतिपूर्ति रकम उपलब्ध गराउन बीमा कम्पनीसँग सोमबार नै समन्वय बैठक बसाउनू”, प्रजिअ पौडेलले केसीलाई भने, “जिल्लामा कार्यरत सबै बीमा कम्पनी, कृषकसहित समन्वय बैठक बस्नू, आवश्यक परे म पनि आउँछु।”
सरकारले बीमा कम्पनीलाई दिनुपर्ने रकम उपलब्ध गराउँदा समेत कृषकको पशुचौपाया बीमा नगर्ने र क्षतिपूर्ति नदिने कम्पनीलाई कारबाही गर्नसक्ने उनको भनाइ छ। – रासस |
सूर्यविनायक–धुलिखेल सडक : पुरातात्विक वस्तु नष्ट नगर्न परिपत्र काभ्रे। पुरातत्व विभागले सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक विस्तारका क्रममा पुरातात्विक वस्तु नष्ट भएको जनाउँदै त्यस्ता कार्य रोक्न जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकलाई परिपत्र गरेको छ।
विभागले अरनिको राजमार्गअन्तर्गत बनेपाको भैँसेपाटी क्षेत्रमा डोजर लगाई बाटो खन्ने क्रममा प्राचीन इँटाको पर्खाल, पानीको स्रोत, प्राचीन काठ र शिला फेला परेकाले तत्कालै डोजर लगाउने कार्य रोक्न भनेको हो।
सडक विस्तारका क्रममा पुरातात्विक वस्तु नष्ट भएको जनाउँदै त्यस्ता कार्य तत्काल रोक्न आइतबार परिपत्र गरिएको विभागका पुरातत्व अधिकृत भीष्म बाँस्कोटाले जानकारी दिए। उनका अनुसार प्राचीन इँटाको पर्खाल, पानीको स्रोत, प्राचीन काठ र शिलालाई संरक्षण गर्नसमेत आग्रह गरिएको छ। यस्तै विभागले राजमार्गअन्तर्गत पर्ने बनेपा नगरपालिकालाईसमेत उक्त कार्य रोक्ने सम्बन्धमा पत्राचार गरेको छ।
गत फागुनदेखि अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार सुरु गरिएको थियो। उक्त सडकखण्ड तीन वर्षमा सक्ने गरी भक्तपुरको सूर्यविनायक–साँगा र साँगा–धुलिखेलको सडकखण्ड विस्तार गर्न छुट्टाछुट्टै दुई चरणमा सम्झौता भएको थियो। उक्त राजमार्ग निर्माणको २५ वर्षपछि सूर्यविनायक–धुलिखेल कूल १५ दशमलव पाँच किलोमिटर सडकखण्ड चार लेनमा विस्तार थालिएको हो।
सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजना कार्यालयका अनुसार साँगा–धुलिखेल सडकखण्ड विस्तार कार्यका लागि रु चार अर्ब पाँच करोड ६४ लाखका ठेक्का लगाइएको छ भने दोस्रो चरणमा निर्माण गरिने सूर्यविनायक–साँगा सडकखण्ड भने ७.५ किमि रहेको छ। उक्त खण्डको ठेक्का रु तीन अर्ब ८८ करोड ९३ लाखमा हालै सम्झौता भइसकेको विभागले जनाएको छ।
यस्तै विभागको आग्रहमा काभ्रेपलाञ्चोकको पाँचखाल नगर क्षेत्रमा भेटिएका ऐतिहासिक सम्पदा सुरक्षार्थ जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले तनि वर्षअघि सम्पदा क्षेत्रमा ‘खनजोत’ गर्न रोक लगाएको छ। कार्यालयले सम्पदा क्षेत्रमा ‘खनजोत’ नगर्न र गर्नुपरे विगागको स्वीकृति र सहमति गराउन पाँचखाल नपालाई पत्रमार्फत जानकारी गराएको थियो। विभागले भने सम्पदा क्षेत्रमा खनजोत गरे नगरेको निरीक्षण गर्दै आइएको जनाएको छ।
पाँचखाल क्षेत्रमा खोज, उत्खननका क्रममा भेटिएका सम्पदा–सामग्री तथा स्तम्भ लिच्छविकालीन र मध्यकालीन ऐतिहासिक सम्पदा भएपछि विभागले प्रारम्भिक चरणमा बेलायतको विज्ञ टोलीसहित विभागका पुरातत्वविद्ले ‘जियोफिजिकल सर्वे’ गरिसकेको छ। – रासस |
यस वर्ष विपदबाट १२ लाख ५० हजार मानिस प्रभावित हुन सक्ने प्रक्षेपण काठमाडाैं। यस वर्षको मनसुनबाट १२ लाख ५० हजार नागरिक प्रभावित हुने प्रक्षेपण गरिएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विभिन्न वैज्ञानिक विष्लेषणका आधारमा गरिएको अध्ययनमा कूल दुई लाख ८६ हजार नौ सय ९८ घर धुरीका १२ लाख ५० हजार मानिस प्रभावित हुने आँकलन गरेको हो।
सबैभन्दा बढी मधेस प्रदेशमा चार लाख र कोसी प्रदेशमा तीन लाख मानिस प्रभावित हुने अनुमान गरिएको जनाइएको छ। प्राधिकरणका अनुसार लुम्बिनी प्रदेशमा दुई लाख, बागमती प्रदेशमा एक लाख, सुदूरपश्चिम प्रदेशमा एक लाख ४७ हजार, गण्डकी प्रदेशमा ६९ हजार र कर्णाली प्रदेशमा ३५ हजार मानिस विपदबाट प्रभावित हुने आँकलन गरिएको हो। गत वर्ष २० लाखि मानिस प्रभावित हुने आँकलन गरिएको थियो।
मनसुन भित्रिन केही दिन मात्रै बाँकी रहेकाले पूर्वतयारी तथा प्रतिकार्यका काम तीव्ररुपमा अघि बढिरहेका छन्। उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद् व्यवस्थापनको काम चुस्तरुपमा अघि बढाउन यसअघि नै निर्देशन दिइसकेका छन्।
सोही आधारमा आवश्यक पूर्वतयारी समन्वययात्मक काम तथा मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना निर्माण भएको पनि प्राधिकरणले जनाएको छ।
आइतबार बसेको १८औँ बैठकले उक्त कार्ययोजना स्वीकृत समेत गरेको छ।
कार्ययोजनामा मनसुनजन्य जोखिमको अवस्था विश्लेषण तथा प्रभाव आँकलनका साथै विभिन्न मन्त्रालय तथा विषयगत क्षेत्र, निजी क्षेत्र, मानवीय क्षेत्रमा काम गर्ने नेपाल रेडक्रसलगायत गैरसरकारी संस्थाको जिम्मेवारीका साथै खोज, उद्धार तथा राहत सामग्रीको मौज्दातीको विवरण समेटिएको छ।
त्यसैगरी भण्डारण गरिएका आपत्कालीन उपकरण र सामग्रीको जानकारी उपलब्ध हुने स्रोत व्यवस्थापन प्रणाली’ गोदाम र खोज तथा उद्धारमा संलग्न हुने स्वयंसेवकको विवरण उपलब्ध हुने स्वयंसेवक व्यवस्थापन प्रणालीबारेमा कार्यविभाजन पनि गरिएको छ।
पूर्वसूचना तथा पूर्वकार्यका लागि देशका ३४ स्थानमा स्मार्ट साइरन जडान, विपद् सामूहिक उद्धार सवारी तथा ’ए क्लास’ एम्बुलेन्स खरिद गरी सातवटै प्रदेश र काठमाडौं उपत्यकामा एक-एकवटा रहने व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ। स्वयंसेवक प्रणालीमा हालसम्म एक लाख चार सय २२ जना सूचीकृत भइसकेका छन्।
जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्षको मनसुनमा देशैभरि कम पानी पर्ने प्रक्षेपण गरिसकेको छ। सरदरभन्दा कम पानी पर्ने भएकाले अधिकतम तापक्रम विगतको भन्दा बढी हुने अनुमान पनि गरिएको छ।
सामान्यतया जेठ अन्तिम साताबाट मनसुन नेपाल प्रवेश गर्दछ। जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले यस वर्षको मनसुन जेठ ३१ वा ३२ गते पूर्वबाट मनसुन प्रवेश गर्ने सम्भावना रहेको बताएका छन्।
नेपालमा मनुसन सरदर एक सय दिन क्रियाशील हुने गरेको छ। उनले औषतभन्दा म पानी पर्ने भन्ने कुरालार्इ पानीनै पर्दैन, विपद् नै आउँदैन भन्ने अर्थमा नबुझ्न अनुरोध गरेका छन्। औषतभन्दा कम पर्ने भएकाले विपद्जन्य घटना भने निम्तिनसक्ने हुँदा तयारीका कामलाई तीव्रताका साथ अघि बढाउनुपर्ने बताए।
नेपालमा बाढी, पहिरो र भारी वर्षा प्रमुख मनसुनजन्य विपद् हुन्। शीतलहर खडेरीले पनि प्रभाव पार्ने गरेकोमा यसपटक भने प्रतिमनसुनका समयमा तातो हावाको लहरले जनजीवन प्रभावित बनाएको छ। यो क्रम अहले पनि तयाईका जिल्लामा कायमै छ।
मौसमविद् शान्ति कँडेलले यसपालि इलाम, धरान, नवलपुर, ओखलढुङ्गालगायतका क्षेत्रमा अधिकतम तापक्रमले रेकर्ड कायम गरेको छ। यसपालि केही दिनमा मनसुसन भित्रिएर केही पानी पर्ने भए पनि पुन तातोहावाको लहर बढ्ने भएकाले सचेत हुनुपर्ने उनले बताए।
गृहमन्त्रालयले तातोहावाको लहरबाट मानिसलााई जोगाउने आवश्यक पर्ने उपाएका विषयमा ठोसठोस प्रस्ताव ल्याउन निर्देश गरिसकेको छ। |
वीरगञ्जमा नाला सफा गर्दा ठूलो मात्रा बन्दुकका गोली फेला परे वीरगञ्ज। वीरगञ्जमा १ सय थान भन्दा बढी गोली भेटिएका छन्। वीरगञ्ज महानगरपालिकाको एक वडाको नाला सफाइ गर्ने क्रममा १ सय थान भन्दा बढी गोली भेटिएका हुन्।
आइतबार ठूलो परिमाणमा बन्दुकमा प्रयोग हुने गोली फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कोमल शाहका अनुसार महानगरपालिकाका कर्मचारीहरूले महानगर-६ मा नाला सफाइ गर्ने क्रममा प्लास्टिकको झोलामा विभिन्न हतियारमा प्रयोग हुने एक सय पाँच थान गोली फेला परेको हो।
उनका अनुसार नाइन एमएमको ३२ थान, ३८ बोरको २४ राउण्ड, हर्नेटको १७ राउण्ड, एसएलआरको चार राउण्डसहित अन्य विभिन्न बन्दुकमा लाग्ने एक सय पाँच राउण्ड गोली फेला परेको हो।
नालामा बेवारिसे अवस्थामा ठुलो मात्रामा गोली भेटिए पछि थप अनुसन्धान भईरहेको उनले जानकारी दिए । |
दुम्कौलीको तापक्रम ४४ डिग्री सेल्सियस पुगेपछि गरियो ‘इन्द्र पूजा’ नवलपुर। लामो समयदेखि पानी नपरेपछि नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को दुम्कौलीमा ‘इन्द्र पूजा’ गरिएको छ। देवचुली नगरपालिका-१ स्थित दुम्कौलीको नारायणी नदी किनारस्थित दिव्यधाम मन्दिरमा स्थानीयले सामूहिकरुपमा इन्द्रको पूजा गरेका हुन्।
जेठको अन्तिम हुँदा पनि पानी नपर्दा खडेरीका कारण खेतबारीमा लगाइएको तरकारी तथा अन्नबालीका साथै फलफूल सुक्न थालेपछि स्थानीयले पानी पारिदिन आग्रह गर्दै वैदिक मन्त्रसहित इन्द्रको पूजा गरेका हुन्।
मन्दिर व्यवस्थापन समिति अध्यक्ष तिलप्रसाद पाठकले मन्दिरमा पूजाआजा गरी नजिकै रहेको नारायणी नदी किनारमा पुगेर पानी मागिएको बताए।
इन्द्रको पूूजा गरेमा पानी पर्ने जनविश्वासका साथ गाउँका सबै जना भेला भएर इन्द्र पूूजा गरिएको उनले बताए। उनले भने, “देशको अन्य स्थानभन्दा दुम्कौलीको तापक्रम अधिक बढेको कारण स्थानीय भेला भएर धूमधामका साथ इन्द्रको पूजा गरेका हौं।”
जेठको सुरुदेखि नै तापक्रम वृद्धि भइरहेको दुम्कौलीमा शुक्रबार यस वर्षको सबैभन्दा बढी ४४ डिग्री सेल्सियस तापक्रम पुगेको थियो।
दिव्यधाम मन्दिर व्यवस्थापन समितिका सचिव कृष्णचन्द्र बस्ताकोटीले गर्मीका कारण दैनिक जनजीवन प्रभावित हुनुका साथै कृषकले खेतबारीमा लगाएको मकै सुकेका बताए।
“घोगा लाग्ने बेलाको मकै खडेरीका कारण झर्यामझुरुम भएर सुकेको छ”, उनले भने, “मकैमात्रै होइन कृषकले लगाएको केराबाली सुक्न लागे पानी नपर्दा बर्खे धानको बीउ राख्नसमेत ढिला भइसकेको छ।” इन्द्र खुसी भएमा पानी पारिदिने जनविश्वाससहित स्थानीयले मन्दिरमा ब्रह्मणद्वारा पाठ पारायणसहित हवन गर्नुका साथै भजनकीर्तनसमेत गरेका थिए। |
गर्मी बढेपछि रामपुरका विद्यालय बन्द पाल्पा। अत्यधिक गर्मी बढेपछि पाल्पा रामपुरका विद्यालय बन्द गरिएको छ। रामपुर नगरपालिकाभित्र सञ्चालित सबै शैक्षिक संस्थामा गर्मीले पठनपाठन सञ्चालनमा कठिनाइ भएकाले आजदेखि पाँच दिनसम्मका लागि विद्यालय बन्द गरिएको हो।
रामपुर नगरपालिका शिक्षा शाखाको यही जेठ २८ गतेको निर्णयअनुसार आजदेखि असार १ गतेसम्म नगरपालिकाभित्र रहेका सम्पूर्ण सामुदायिक, संस्थागत तथा मन्टेश्वरीमा बिदा दिने दिइएको छ।
बर्खे र हिउँदे बिदामा मिलान हुने गरी बिदा दिइएको नगरपालिकाका शिक्षा अधिकृत विकल काफ्लेले बताए।
शिक्षा शाखाले तातो हावा (लू)बाट बच्न सतर्कताका सुझाव सम्प्रेषण गर्न विद्यालयलाई अनुरोधसमेत गरेको छ। लामो समयसम्म पानी नपरेपछि यस क्षेत्रमा गर्मी अत्यधिक बढेको छ। गर्मीले पठनपाठन, दैनिक कामकाजमा समस्या भएको छ। |
उदयपुर गढीमा पानीको मुहानै सुकेपछि दमकलबाट पानी वितरण उदयपुर। यस पटकको सुक्खा खडेरीका कारण उदयपुर जिल्लाको मध्यपहाडी क्षेत्रमा पानीको मुहान सुकेको छ ।
उदयपुर गढी गाउँपालिकास्थित वडा नम्बर ७ को बतासेमा पानीको मुहान सुकेर गाउँमा पानीको हाहाकार हुन थालेपछि शनिबारदेखि दमकलमार्फत गाउँलेहरूलाई पानी वितरण कार्य सुरु भएको छ ।
बतासेकी राधाकुमारी मगरका अनुसार बतासेको ट्याङकीमा जम्मा गर्ने स्थानीय खोलाको पानीको मुहान सुकेर खानेपानी ट्याङकी रित्तै भएपछि गाउँमा पानीको हाहाकार बन्न पुगेको छ । एक हप्तादेखि स्थानीयवासी काकाकुल नै बनेपछि शनिबारदेखि दमकलको सहायताले पानी वितरण हुन थालेको उनले बताए।
उदयपुर गढी–७ का वडाध्यक्ष भुवन मगर भन्छन्, “यस वडाका करिब ५० घर परिवार पानीविहीन भएपछि सङ्घीय सांसद अमर रायमाझी र प्रदेशसभा सदस्य नारायण बुर्जा मगरको सहयोगमा दमकलमार्फत वैद्यनाथ खोलाबाट पानी ल्याई वितरण गरिएको छ ।”
वडाध्यक्ष मगरका अनुसार आगलागी हुँदा प्रयोग गर्नुपर्ने दमकल अहिले खडेरीका कारण गाउँलेलाई पानी उपलब्ध गराउन प्रयोग गर्नुपरेको छ । प्रदेशसभा सदस्य बुर्जा मगरका अनुसार आफूहरूले खर्च जुटाउने सर्तमा दमकल प्रयोग गरेर वैद्यानाथ खोलाको पानी दिनमा पाँच\छ पटकसम्म बोकेर ५० वितरण सुरु गरिएको हो ।
यस क्षेत्रका जनतालाई पानी उपलब्ध गराउन अब अन्य विकल्प पनि सोच्न बाध्य हुनुपरेको सो क्षेत्रका सांसद रायमाझीले बताए। |
नारामै सीमित ‘एक घर एक धारा’ देउखुरी। घोराही–१ की शर्मिला बुढाले पानीको जोहो गर्दागर्दै बिहान बित्ने गर्छ । घर नजिकै पानीको सुविधा नभएका कारण पानीका लागि दिनमा एक घण्टाको समय लाग्ने गरेको उनले बताए । गाउँले सबैको पानी खाने एउटा मात्र जरुवा छ । चैत, वैशाख र जेठ महिनामा पानीको समस्या धेरै हुने गरेको उनले बताइन् ।
सुक्खा समयमा पानीको समस्या वर्षौंदेखि भोग्दै आएको उनको भनाइ छ । स्थानीय सरकारले पानीको व्यवस्था गर्ने हो भने आफ्ना दुःख कम हुने आशा उनलाई छ ।
ग्रामीण क्षेत्रका बस्तीमा परम्परागतरूपमा प्रयोग हुँदै आएका इनार, ह्यान्डपम्पबाट पानी उपलब्ध हुने भए पनि सुक्खा ठाउँमा जरुवा, खोल्सा, खोलाको पानी पिउनुपर्ने बाध्यता छ । केही स्थानमा मुहान संरक्षण गरेर पानीको व्यवस्था गरेका स्थानीयवासी भरपर्दो रूपमा बाह्रै महिना खानेपानीको पहुँचमा पुग्न सकेका छैनन् ।
घोराही–१९ की कल्पना भण्डारीलाई पानीका लागि बिहान बिताउनुपर्ने बाध्यता छ । नजिकमा भएका इनार सुकेपछि उहाँलाई एक घण्टा हिँडेर पानी जोहो गर्नुपरेको छ । पहाडी क्षेत्रमा पनि अझै सहजरूपमा पिउने पानीको व्यवस्था हुन सकेको छैन ।
हिउँद र गर्मी मौसममा यस क्षेत्रमा बासिन्दा खोल्साको जमेको पानी सङ्कलन गरेर जीविकोपार्जन गर्न बाध्य हुन्छन् । आर्सेनिक मिसिएको तथा शुद्धीकरण नभएको पानी खानु उनीहरूको बाध्यता छ ।
सरकारले अघि सारेको ‘एक घर एक धारा’ अभियानले पूर्णता पाउन सकेको छैन । सरकारले ल्याएको यो कार्यक्रममा स्थानीय पालिकाले पनि साथ दिँदै आए पनि पूर्णता पाउन चुनौती देखिएको छ ।
दाङका १० पालिकामध्ये अधिकांश पालिकामा अझै सहज खानेपानीको पहुँच पुग्न सकेको छैन । बजार क्षेत्रमा धारामार्फत खानेपानीको व्यवस्था गरिए पनि यो पर्याप्त हुन सकेको छैन ।
घोराही उपमहानगरपालिकाका केही वडामा अझै पनि खानेपानी विस्तार हुन सकेको छैन । घोराहीका विकट मानिएका वडा नम्बर १, २, ५, ११, १२, १९ का बस्तीमा अझै सहजरूपमा खानेपानी विस्तार हुन सकेको छैन ।
तुलसीपुरका केही वडाबासी पनि खानेपानी कै लागि तड्पिनु पर्ने अवस्था छ । लमही नगरपालिकाको वडा नम्बर ८, ९ का केही बस्तीमा पनि सहजरूपमा खानेपानीको उपलब्ध हुन सकेको छैन । स्रोतको पानी प्रयोग गर्दै आएका स्थानीयवासीलाई हिउँद र गर्मी मौसममा पानीका लागि दुःख झेल्नुपर्छ ।
दाङमा एक लाख ६२ हजार दुई सय ६६ परिवार छन् । तीमध्ये धेरै जसो परिवार खानेपानीको जोहो गर्नमै समय बिताउने गर्छन् भने पानी उपलब्ध हुने ठाउँमा पनि सुरक्षित पानी पाउन मुस्किल देखिन्छ ।
नागरिकले वर्षौंदेखि पानीका लागि सङ्घर्ष गरिरहँदा राज्यले यो क्षेत्रमा लगानी गरेको जस्तो गरे पनि उपलब्धि न्यून देखिएको छ । खासगरी, गर्मीको समयमा खोला र कुवा सुकेर काकाकुल बन्दै गर्दासमेत खानेपानीका सरकारी योजना पर्न सकेका छैनन् । परेका योजना पनि वर्षौंसम्म अधुरा छन् ।
राष्ट्रिय जनगणना, २०७८ को तथ्याङ्कले पनि देखाएको छ । जिल्लामा ६५ हजार चार सय ८० परिवारले डिप बोरिङको र २५ हजार छ सय १८ ले कुवा, जरुवाको पानी खाने गरेको तथ्याङ्क छ । बाँकी परिवार ह्यान्डपम्प, जरुवा र खोलाकै भरमा आर्सेनिक मिसिएको तथा शुद्धीकरण नभएको पानी पिउन बाध्य छन् ।
खानेपानी डिभिजन कार्यालय दाङका प्रमुख भोला थापाले खानेपानी योजनाअन्तर्गत डिप बोरिङ तथा खोला, जरुवाको पानीमा किटनाशक औषधि प्रयोग गर्ने गरेको जानकारी दिए । सतहको पानी प्रयोग हुने ह्यान्डपम्प र कुवाको पानी जमिनको माथिल्लो तहबाटै आउने भएकाले आर्सेनिक र खोलाको पानीमा शुद्धता हुन नसक्ने उनको दावी छ ।
बजेट अभावमा थलिएका र कामै सुुरु नभएका खानेपानी आयोजना जिल्लामा एक सय ४२ वटा रहेको खानेपानी डिभिजन कार्यालय दाङले जनाएको छ । जिल्लामा दुई सय ८६ खानेपानीका ठूला साना योजना र केही पुराना आयोजना सम्पन्न गर्ने लक्ष्य रहेकामा सरकारले अति न्यून बजेट छुट्याउँदा क्रमागत योजनासमेत थला परेको कार्यालय प्रमुख थापाले जानकारी दिए । यसबाट जिल्लाका धेरै जसो स्थानमा सहज खानेपानीको पहुँच पु¥याउने लक्ष्यमा धक्का लागेको उनको भनाइ छ ।
खानेपानी डिभिजन कार्यालय दाङको तथ्याङ्कमा दाङमा अझै पनि ट्युबवेल र ह्यान्डपम्पबाट पानी खाने परिवार १९ हजार छ सय ८१ छन् । कुवाको पानीमा आश्रित परिवार ४२ हजार चार सय ३६ छन् ।
नछोपेको खुला कुवाको पानी खाने परिवार १६ हजार छ सय १० छन् । चार हजार छ सय ७१ परिवार त थोपा पानीको भरमा छन् । नदी र खोलाको भरमा दुई हजार पाँच सय ६६ परिवार छन् । दाङमा जार र बोतलको पानी खाने परिवार पाँच सय चार मात्रै छन् भने अन्य स्रोतबाट पानी खाने एक हजार दुई सय १० परिवार छन् ।
रञ्जिता अधिकारी\रासस |
सिञ्जामा राष्ट्रिय विद्युत् प्रसारण लाइन विस्तार जुम्ला। सिञ्जा गाउँपालिकाको प्रशासनिक केन्द्र नराकोट बजारसम्म राष्ट्रिय प्रसारण लाइनको सेवा विस्तार गरिएको छ।
सिञ्जा क्षेत्रमा पर्ने तीन स्थानीय तहमध्ये हिमा र सिञ्जा गाउँपालिकाको प्रशासनिक केन्द्रमा नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइन विस्तार भई विद्युत् सेवा सञ्चालनमा आएको जुम्ला वितरण केन्द्रका प्रमुख नरेशदत्त रावलले जानकारी दिए।
हिमाको प्रशासनिक केन्द्रसम्म विस्तार भएको राष्ट्रिय प्रसारण लाइन शुक्रबारदेखि सिञ्जाको नराकोट बजारसम्म विस्तार भएपछि स्थानीयलाई निकै राहत भएको छ। विद्युत्को अभावले काम गर्न कठिन हुने गरेको थियो। प्राधिकरणको जुम्ला वितरण केन्द्रले सिञ्जाको प्रशासनिक केन्द्रसम्म विद्युत् सेवा पुगेपछि गाउँपालिकामा अब काम गर्न सहज हुने उपाध्यक्ष सितली रोकायाको भनाइ छ।
नराकोटमा रहेको ट्रान्सफर्मरमा बिजुली चार्ज गरी सेवा शुभारम्भ गरिएको छ। सिञ्जा क्षेत्रका ग्रामीण ठाउँसम्म प्रसारण लाइनको सेवा विस्तार गर्ने काम तीव्र गतिमा भइरहेको छ। केही दिनपछि कनकासुन्दरी गाउँपालिका हुँदै मुगुसम्म प्रसारण लाइन पुर्याउने लक्ष्य रहेको प्राधिकरणका प्रमुख रावलले बताए।
सिञ्जासम्म राष्ट्रिय प्रसारण लाइन विस्तार भएपछि इलाका प्रशासन कार्यालयलगायत गाउँपालिकाबाट हुने सेवा प्रवाहमा सहजता हुने अपेक्षा गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रलाल धितालले जानकारी दिए। – रासस |
बजेट अभावले खानेपानी आयोजना अलपत्र पर्वत। जिल्लामा यसैवर्ष निर्माण सम्पन्न हुनुपर्ने एक दर्जनबढी खानेपानी आयोजना बजेट अभावका कारण अलपत्र परेका छन्। संघ र प्रदेशबाट चालु आर्थिक वर्षका लागि विनियोजन भएको बजेट खानेपानी कार्यालयमा प्राप्त नहुँदा निर्माण सम्पन्न हुने अन्तिम चरणमा पुगेका आयोजनाको काम रोकिएका हुन्।
खानेपानीको चरम समस्या बेहोरिरहेका विहादी गाउँपालिकाको रानीपानी, बर्राचौर र शालिग्राममा निर्माणाधीन खानेपानी आयोजनाका लागि बजेट अभाव हुँदा आयोजनाको काम रोकिएको हो। निर्माण बीचमै अलपत्र परेपछि यहाँका स्थानीयले यसवर्ष पनि खानेपानी उपभोग गर्न नपाउने भएका छन्।
विहादी गाउँपालिकाका पूर्व अध्यक्ष कमल भुषालले आयोजना सम्पन्नको अन्तिम चरणमा बजेटको अभाव हुँदा खानेपानीको समस्या समाधान हुन नसकेको बताइन्। उनले खानेपानी जस्तो संवेदनशील क्षेत्रमा सरकारले बजेट उपलब्ध गराउन बेवास्ता गरेको भन्दै तत्काल रकम उपलब्ध भए विहादीमा लिप्टिङ खानेपानी आयोजना सम्पन्न हुने बताइन्।
रकमको अभावका कारण निर्माणाधीन आयोजना पलपत्र परेका छन् भने विहादीको शालिग्राममा नयाँ निर्माण गरिएको ट्यांकीसमेत चर्किएर भत्कने जोखिम बढेको स्थानीयको भनाइ छ।
खानेपानी आयोजनाका लागि संघीय सरकारबाट बजेट उपलब्ध नहुँदा रकम उपलब्ध गराउन नसकिएको संघीय खानेपानी तथा सरसफाइ आयोजना पोखराका प्रमुख कुलप्रसाल पौडेलले जानकारी दिए।
“पर्वतमा साना र ठूला गरी झण्डै दुई दर्जन खानेपानीका आयोजना संघ र प्रदेश सरकारमार्फत निर्माणाधीन अवस्थामा छन्”, उनले भने, “आयोजनामध्ये लिफ्ट खानेपानी रानीपानी, बर्राचौर, शालिग्राम, तिलाहार र दुर्लुङका आयोजना संघ सरकारअन्तर्गत सञ्चालित छन्।
बजेट अभावले यी सबै आयोजनाको काम तीन महिनादेखि रोकिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय पर्वत इकाइले जनाएको छ। अन्तिम चौमासिकका लागि बजेट उपलब्ध नहुँदा आयोजनाका काम प्रभावित भएको कार्यालयका इन्जिनियर शिवशंकर शाहले बताए। उनका अनुसार हाल जिल्लाभर रू तीन करोडदेखि २० करोड लागत अनुमान गरिएका ७६ खानेपानी आयोजना छन्।
“सबै आयोजना सम्पन्न गर्न चालु वर्षको दररेटअनुसार करिब रू तीन अर्ब बजेट आवश्यक पर्दछ। मन्त्रालयबाट आउने बजेट बर्सेनि पाँच प्रतिशत भन्दा बढ्न सकेको छैन”, इन्जिनियर शाहले भने। उनका अनुसार सबै आयोजना आर्थिक वर्ष २०७५/७६ मा सम्पन्न हुनुपर्ने हो। आयोजनाको लागत अनुमानका आधारमा काम गर्न बर्सेनि कम्तीमा रू ५० करोड बजेट आवश्यक पर्ने भन्दै चालु वर्ष झण्डै रू १३ करोड मात्रै अख्तियारी आएको शाहले बताए।
“यस आवमा आवश्यक बजेटको पाँच प्रतिशत बजेट पनि छैन,” उनले भने, “हामीले सबै काम द्रुतगतिमा गर्छौँ भनेर मात्रै भएन। रकम अभावले काम रोकिएका छन्। सबै आयोजना पाइपलाइनमै छन्।” बजेट अभावका कारण काम अघि बढाउन नसक्दा थुप्रै आयोजना सम्पन्न नुहँदै भग्नावशेषमा परिणत भएका शाहको भनाइ थियो। फिल्डमा खटिने कर्मचारीलाई दैनिक भत्ता र तलब दिन नसकिएको उनले बताए।
असार मसान्तसम्म निर्माण सम्पन्न हुने आयोजना बजेट अभावले अलपत्र परेकाले बजेट उपलब्ध गराउन प्रयास भइरहेको संघीय सांसद पदम गिरीले बताए। “खानेपानी नागरिकको आधारभूत आवश्यकता हो । खानेपानी आयोजनामा बजेट अभाव देखाएर काम रोकिनु दुःखद् छ”, उनले भने। समयमा नै बजेट उपलब्ध नगराउँदा आयोजनाको निर्माण प्रभावित भएको उनको भनाइ थियो। – रासस |
भारतमा सडक दुर्घटनामा परी चार नेपालीको मृत्यु दोधारा चाँदनी। भारतको उत्तराखण्डस्थित चक्करपुरमा सडक दुर्घटनामा परी चार जना नेपालीको मृत्यु भएको छ।
शनिबार कार र दुई स्कुटर ठोक्किँदा दुई स्कुटरमा सवार चार नेपालीको मृत्यु भएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन्। कञ्चनपुरको भीमदत्त नगरपालिका-२ उल्टाखामका ६० वर्षीय नेमबहादुर चन्द, उनकी श्रीमती ५६ वर्षीया सरस्वती, बुहारी २७ वर्षीया नर्मदा र ४२ वर्षीया भाइ-बुहारी कल्पनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनीहरु सबै पूजापाठ सकेर फर्किरहेका थिए।
दुर्घटनामा परेर घाइते भएका उनीहरुलाई अस्पताल पुर्याउने बित्तिक्कै मृत घोषणा गरिएको थियो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले घटनाबारे जानकारी नआएको जनाएको छ।
“विभिन्न सञ्चारमाध्यमबाट घटनाबारे जानकारी प्राप्त भए पनि आधिकारिक रुपमा केही जानकारी आएको छैन”, प्रहरी निरीक्षक हर्षबहादुर चन्दले भने। रासस |
विपन्न वर्गलाई निःशुल्क विद्युत् मिटर वितरण काठमाडौँ। नेपाल विद्युत प्राधिकरणले पिछडिएका तथा आर्थिक रुपमा विपन्न घरपरिवारलाई निःशुल्क विद्युत् मिटर वितरण गरेको छ।
प्राधिकरणले मधेश प्रदेशमा पर्ने महोत्तरीको गौशाला र धनुषाको धनुषाधाम वितरण केन्द्रअन्तर्गतका क्षेत्रका बसोबास गर्ने विपन्न वर्गका घरपरिवारलाई निःशुल्क विद्युत् मिटर वितरण गरेको हो। प्राधिकरणले मुलुकभर रहेका आफ्ना वितरण केन्द्रहरुमार्फत विपन्न वर्गलाई निः शुल्क मिटर उपलब्ध गराएर विद्युत जडान गरिदिँदै आएको छ।
विपन्न वर्गले प्राधिकरणको मापदण्डअनुसारको ५–३० एम्पिएर क्षमताको बक्ससहितको सिंगल फेज इनर्जी मिटर, एमसीबी बक्स निःशुल्क पाउने छन्। प्राधिकरणले मिटर जडानका लागि सेवा शुल्क लिंदैन। मिटरको एक हजार ९ सय ३५ रुपैयाँ, एमसीबीको मूल्य, अधिकतम २ वटा पोल (करिब १ सय मिटर)सम्मको सर्भिस केबल, जडान गर्दा लाग्ने सेवा शुल्कसहित नयाँ मिटर जडान गर्दा प्रति घरपरिवार १२ हजार देखि १५ हजार रुपैयाँ खर्च हुन्छ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले महोत्तरीको गौशाला र धनुषाको धनुषाधाम वितरण केन्द्र अन्तर्गतका पालिकाहरुमा बसोबास गर्ने विपन्न वर्गका घरपरिपारलाई निःशुल्क मिटर वितरण गरे। गौशाला र धनुषाधाम वितरण केन्द्रअन्तर्गतका क्रमशः ६८ र १६२ विपन्न घरपरिवारलाई निःशुल्क मिटर वितरण गरिएको हो।
कार्यकारी निर्देशक घिसिङले विद्युत् नै नपुगेका ठाउँहरुको खोजी गरी अहिले त्यस्ता ठाउँमा बसोबास गरिरहेका नागरिकहरुलाई विद्युत् पुर्याउन विद्युतीकरणको अन्तिम माइलको यात्रा चलिरहेको बताए।
‘विद्युत् पुगेका ठाउँको लोडसेडिङ अन्त्यको चरणपार गरी अहिले २४ सै घण्टा लोडसेडिङ भएका ठाउँमा विद्युत् पुर्याउने चरणको अन्त्यतिर छौं, अहिले करिब ९६ प्रतिशत विद्युतीकरण भइसकेको छ, विद्युत् नै नपुगी सँधै लोडसेडिङमा रहेका घरमा विद्युत् पुर्याउने कार्यलाई प्राथमिकतामा राखेर बढीमा दुई वर्षभित्रमा विद्युतीकरण गर्ने गरी अन्तिम माइलको यात्रामा छौं, यो सँगै विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो र गुणस्तीय बनाउन प्रसारण तथा वितरणतर्फका पूर्वाधार संरचना विस्तार र सुदृढीकरण गरिरहेका छौं,’ घिसिङले भने, ‘कोही नागरिक पनि विद्युत् उपभोगबाट बञ्चित हुनु नपरोस् भनेर विपन्न वर्गलाई निःशुल्क मिटर दिने व्यवस्था गरिएको हो, पैसा अभावमा मिटर राख्न नसकेपछि विपन्न वर्गले हुकिङ गरी विद्युत् प्रयोग गर्दै आएका थिए, निशुल्क मिटर वितरणपछि चोरी नियन्त्रण भई विद्युत् चुहावट घट्ने र अनाधिकृत प्रयोगमार्फत हुने विद्युतीय दुर्घटना कम हुनेछ ।’
मधेशलाई चाँडै पूर्ण विद्युतीकरण भएको प्रदेश घोषणा गर्न लागिएको उल्लेख गर्दै विद्युत् नपुगेको ठाउँ भएमा तत्काल खबर गर्न र चुहावट नियन्त्रणमा सहयोग गर्न आग्रह गरे । मधेश प्रदेशमा वैशाखसम्ममा वितरणतर्फको विद्युत् चुहावट १३.२७ प्रतिशत छ।
उनले भने, ‘खेत खेतमा विद्युत् पुर्याएर सिंचाइमार्फत उब्जनी र उत्पादकत्व बढाउनु पर्छ,यसका लागि स्थानीय तहहरुसँगको सहकार्यमा सिंचाइको विद्युतीकरण अगाडि बढाएका छौं।’ तराई/मधेश क्षेत्रमा सिंचाइको विद्युतीकरणका लागि धेरै माग आउने गरेको प्राधिकरणका मधेश प्रदेश प्रादेशिक कार्यालय, जनकपुरका प्रमुख मुनिन्द्र ठाकुरले बताए।
एक सय केभिएसम्मका जुनसुकै ग्राहकका लागि र २ सय केभिएसम्म दुग्ध चिस्यान केन्द्र, शीत भण्डार, सामुदायिक खानेपानी, सामुदायिक सिंचाइलाई प्राधिकरणकै ट्रान्सफर्मरबाट विद्युत् आपूर्ति दिने व्यवस्था गरिएको छ।
मधेश प्रदेशका ८ वटा जिल्लामा प्राधिकरणका १० लाख ४४ हजार ग्राहकमध्ये ग्राहस्थ ग्राहकको संख्या ९ लाख ३४ हजार छ। यसमध्ये घरमा पाँच एम्पियरको सिंगल फेज मिटर राखी मासिक रुपमा ३० रुपैयाँ तिर्ने र २० युनिट विद्युत् निःशुल्क पाउने ग्राहकको संख्या २ लाख रहेको छ। |
नर्सरी सञ्चालन गरेका माओवादी नेता कार्कीलाई बिरुवा बिक्री नभएपछि पिरलो गुल्मी। गुल्मीको रेसुंगा नगरपालिका–९ मा वीरबहादुर कार्कीले उत्पादन गरेका बिरुवालाई बजारीकरणको समस्या देखिएको छ । रेसुंगा मदाने जडीबुटी तथा कृषि उत्पादन प्रशोधन प्रालि दर्ता गरेर १६ वर्षदेखि उनी बिरुवा उत्पादनमा सक्रिय छन्।
उनले भने , “बाहिरी जिल्लाबाट बिरुवा भित्रिन्छन् । तर जिल्लाभित्रका बिरुवा बिक्री नहुँदा नर्सरीमा बिरुवा खेर गइरहेका छन् । ” उनले सुन्तला, कागती, टिमुर, अनार, किबी, चियापत्ती, अम्बा, कुरिलो र धुपीलगायत दर्जनौँ बिरुवा उत्पादन गर्दै आएका छन्।।
विभिन्न कार्यालयले किसानलाई विभिन्न प्रकारका बिरुवा वितरण गर्दै आए पनि ती बिरुवा जिल्ला बाहिरबाट भित्रिएका छन् । सदरमुकाममै नर्सरी रहे पनि उनी बिरुवा बिक्री नभएपछि पिरलोमा छन्।
कार्कीको नर्सरीमा हाल सुन्तला, कागती, टिमुर, अनार, किबी, चियापत्ती, अम्बा, कुरिलो, धुपी, मौसम, गुलाफ, मनकामना, श्रीखण्ड, रुद्राक्ष, स्ट्रबेरी, सुगर फ्री, अङ्गुर र तरकारीजन्य सबै बिरुवा पाइन्छन् । बिरुवाबाट वार्षिक रु सातदेखि १७ लाखसम्म आम्दानी गर्ने कार्की यस वर्ष बिरुवा बिक्री नहुने चिन्तामा छन्।
छपन्न वर्षीय कार्कीले बजारीकरणको ‘ग्यारेन्टी’ भएमा उत्पादन बढाउने बताए। तर बिरुवा बिक्री नभएपछि लगानी घटाउँदै गएको उनको गुनासो छ ।
“किसानलाई बिरुवा वितरण गर्ने कार्यक्रम गुल्मीमा बर्सेनि चल्छन्”, उनले भने, “माटो सुहाउँदो बिरुवा भए पनि हाम्रो बिक्री हुन्न, बाहिरी जिल्लाबाट खरिद हुन्छ”,
सामुद्रिक सतहबाट एक हजार पाँच सयको उचाइमा उत्पादित बिरुवा होचो वा अग्लो दुवै स्थानका लागि उपयुक्त हुने भए पनि बिरुवा बिक्रीमा समस्या देखिएको हो ।
कार्कीसँग अहिले कागती रु ४० हजार, सुन्तला ३० हजार, टिमुर १५ हजार, अनार सात हजार, कुरिलो पाँच हजार, धुपी तीन हजार र अन्य बिरुवा एक हजारभन्दा माथिका रहेका छन् । उनले सुन्तला २३, कागती २५, टिमुर ६०, किबी एक सय ५० र अम्बा प्रतिबिरुवा रु ५० मा विक्री गर्दछन्।
उनले विसं २०६४ मा रु २० हजारबाट सुरु गरेको नर्सरी अहिले रु ४६ लाखको पुगेको छ । विगत १६ वर्षदेखि प्रत्येक वर्ष लगानी बढाउँदै गएका व्यवसायी कार्की बिरुवा बिक्री नहुन थालेपछि लगानी घटाउने सोचमा छन्। उनले हाल सात रोपनी जग्गामा बिरुवा उत्पादन गरिरहेका छन्।
यसमा दुई रोपनी निजी र पाँच रोपनी जग्गा भाडामा छन् । भाडामा लिएको जग्गाको वार्षिक रु १५ हजार भाडा उनले तिर्दै आएका छन्। कार्कीलाई श्रीमती रेनुले नर्सरीमा सघाउँदै आएकी छिन्। नर्सरीबाट औसतमा दैनिक पाँच जनाले रोजगारी पाएको जनाइएको छ।
उनले दुई वर्ष अगाडि एउटा टनेल घर निर्माण गर्न रेसुङ्गा नगरपालिकाबाट रु एक लाख अनुदान लिएको नर्सरी सञ्चालक कार्कीले बताए।
“अनुदान नपाएको भन्ने मेरो गुनासो नै छैन”, उनले भने, “उत्पादित बिरुवाको बजार ग्यारेन्टी भए पुग्छ ।”
उनी मालिका गाउँपालिका–५ छापहिलेका स्थायी बासिन्दा हुनुहुन्छ । राजनीति र कृषि पेसामा सक्रिय उनी विगत १६ वर्षदेखि जिल्ला सदरमुकाम तम्घासमा बस्दै आएका छन्। उनी नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा गुल्मी जिल्ला इञ्चार्जको जिम्मेवारीमा छन्।रासस |
यसरी फेरिँदै छ चेपाङ समुदायको जीवनशैली मुग्लिन। चितवनको इच्छाकामना–१ राजभोगका चेपाङ समुदायको दैनिक जीवनशैली फेरिएको छ। राजभोग क्षेत्रमा चिटिक्क परेको सानो सफा घर, शौचालय, करेसाबारी छ । यहाँका चेपाङ समुदाय तरकारी खेती र पशुपालन गर्छन्। आर्थिक अवस्थामा सुधार आएको छ। बालबालिका नियमित विद्यालय जान्छन्।
यो अवस्था सिर्जना गरेका हुन् सामाजिक कार्यमा क्रियाशील चितवनको सौराहा स्थित सपना भिलेज सोसियल इम्प्याक्ट र इच्छाकामना गाउँपालिकाले। सपना भिलेजले गाउँपालिकासँगको सहकार्यमा ‘सबै यात्राको सुरुआत एक सपनाबाट हुन्छ’ नामक परियोजना सञ्चालन गरेपछि चेपाङ समुदायको जीवनशैलीमा परिवर्तन आएको हो।
सपना भिलेज सोसियल इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीका अनुसार परियोजनाले घर, विद्यालय, स्वास्थ्यकर्मी, कृषक र आमा समूहबीच प्रतिस्पर्धा गराएर छ/छ महिनामा पुरस्कार वितरण गर्दै आएको छ। आफ्नै घर सफा गर्दा, आफ्नैका लागि आयआर्जनका काम गर्दा पुरस्कृत भएपछि चेपाङ समुदायको जीवनशैलीमा परिवर्तन गर्न सकिएको अध्यक्ष गिरिको भनाइ छ।
“उनीहरू आफैँका लागि काम गर्ने हो, यसको घर सधैँ सफा हुन्छ, शौचालय छ, आयआर्जनका लागि पशुपालन गर्छन्, तरकारी खेती गर्छन् बालबालिका नियमित विद्यालय पठाउँछन्, उनीहरुलाई पुरस्कृत गछौँ, आफैँका लागि काम गर्दा पुरस्कृत हुँदा उनीहरूको जीवनशैलीमा परिवर्तन ल्याउन सकिए हो”, उनले भने।”
वडा नं १ राजभोगका लक्ष्मी चेपाङले उक्त परियोजनाबाट आफ्नो परिवार र समुदायको जीवनशैलीमा परिवर्तन आएको बताइन्। “परियोजना लागू भएसँगै यहाँका समुदायमा आर्थिक उपार्जन गर्ने भएका छन्, यहाँका घर सफा छन्, नानीबाबु नियमित विद्यालय जान्छन्”, उनले भनिन्।
प्रतिस्पर्धामा सर्वोत्कृष्ट भएकी वडा नं १ कै थाप्राङकी सानु कान्छी चेपाङले पनि विगतका वर्षमा भन्दा यहाँका आफ्नो समुदायको जीवनशैली फरिएको बताइन्। खेती किसान पशुपालनमा रुचि नराख्नेहरु आजभोलि व्यावसायिकरूपमा तरकारी खेती गर्ने पशुपालन गर्ने सरसफाइमा ध्यान दिने गरेको उनले सुनाइन्।
हातिवाङ माध्यमिक विद्यालयका प्रधानाध्यापक लोकबहादुर मगरले पनि यो परियोजना लागू भएसँगै विद्यार्थी नियमित विद्यालय आउने गरेको बताए। उनले भने, “यस परियोजनाले विद्यालयलाई सहयोग गरेको छ, विपन्न विद्यार्थीका लागि शैक्षिक सामग्री सहयोग गर्दै आएको छ, त्यतिमात्र होइन, घर–घरमा–समुदायमा जनचेतना फैलाउने काम गरेका छन्, परियोजना सञ्चालनपछि विद्यालयमा बालबालिका नियमित आउने गरेका छन्।”
गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले परियोजनाबाट बाटो देखाउने काम भएको र आफ्नो जीवनशैली परिवर्तन, जीविकोपार्जन, आर्थिक वृद्धिका लागि निरन्तर सक्रिय हुनुपर्नेमा जोड दिए।
उनले भने, “हामीले चेपाङ समुदायको जीवनशैली परिवर्तनका लागि बाटो देखाएका हौँ, सधैँ यो परियोजना हुँदैन फेरिएको सकरात्कम जीवनशैलीलाई आफैँले निरन्तता दिनुपर्छ।” आवश्यकताका आधारमा यस्ता अभियानलाई निरन्तरता दिइने बताए।
गाउँपालिका पूर्वअध्यक्ष गीताकुमारी गुरुङले चेपाङ समुदायको जीवनशैलीमा परिवर्तन ल्याउनका लागि यो परियोजना यहाँ सञ्चालन गर्न आवश्यक देखिएकाले आफूले तीन वर्षअघि सपना भिलेज सोसल इम्प्याक्टसँग गाउँपालिकाले सहकार्य गरी सुरु गरेको बताइन्।
इन्प्याक्टका अध्यक्ष गिरीले आगामी दिनमा पनि गाउँपालिकासँग सहकार्य गर्न तयार रहेको बताए। साथै उनले गाउँपालिकासँगको सहकार्यमा भाराङ राष्ट्रिय आधारभूत विद्यालयको भवन बनाउने र वडा नं १ कै भराङस्थित स्वास्थ्य एकाइका लागि इम्प्याक्टले औषधि उपलब्ध गराइरहेको पनि बताए।
शनिबार पनि परियोजनाअन्तर्गत आयोजित अन्तर घर प्रतियोगिता, आमा समूह, उत्कृष्ट किसान र स्वंयसेविकालाई पुरस्कार प्रदान गरेका थिए। एकसठ्ठी र दुई आमा समूहलाई पुरस्कार वितरण गरिएको इम्प्याक्टका व्यवस्थापक सुजन बस्नेतले जानकारी दिए। एघार कलस्टरबाट पाँच–पाँच गरी ५५ पुरस्कृत भएका थिए।
सानुकान्छी चेपाङ, सन्तमाया चेपाङ र कालिमाया चेपाङ सर्वोत्कृष्ट भइन्। फलफूल खेतीतर्फ थाप्राङका विष्णुबहादुर चेपाङ र बाख्रापालनतर्फ खैरेसका विष्णुमाया चेपाङ सर्वोत्कृष्ट भइन्। स्वयंसेविकातर्फ भने शान्ता गुरुङ सर्वोत्कृष्ट भइन्। आमा समूहतर्फ कोलभञ्ज्या र चौकीडाँडा आमा समूह सर्वोत्कृष्ट भएको म्यानेजर बस्नेतले बताए। विजेतालाई नगद र प्रमाणपत्रसहित पुरस्कृत गरिएको हो।
चेपाङ समुदायको सरसफाइ, घरको अवस्था, करेसाबारी, शौचालयको अवस्था, विद्यार्थीको पढाइलगायतका क्षेत्र कमजोर रहेको पाइएपछि परियोजना सञ्चालन आएको जनाइएको छ। इम्प्याक्टले विसं २०७७ देखि वडा नं १ का राजभोग, थाप्राङ, खैरेस बाङगेङ, कोलभञ्ज्याङ, चौकीडाँडा, कालीनगायतका ६ सय १५ घरधुरीमा परियोजना सञ्चालन गरेका छन्। यसअघि चितवनको कालिकामा पनि इम्प्याक्टले नगरपालिकासँगको सहकार्यमा उक्त परियोजना सञ्चालन गरेको थियो। – रासस |
कान्ति राजमार्ग : पहिरो रोकथाम गरेर मात्रै स्तरोन्नति काठमाडौँ। कान्ति राजमार्गको बर्सेनि पहिरो गइरहने क्षेत्रमा पहिरो रोकथाम गरेर मात्रै सडक स्तरोन्नति गरिने भएको छ।
पहिरो जाने क्षेत्रमा अहिले विस्तृत ‘डिजाइन’ भइरहेको कान्ति राजमार्ग योजनाले जनाएको छ। ठाउँ–ठाउँमा पहिरो रोकथामका लागि भित्तामा पर्खाल, माटो रोकथामको नयाँ प्रविधि प्रयोग हुनसक्ने योजना प्रमुख सुरेश न्यौपानेले बताए।
पहिले विस्तृत अध्ययनको प्रतिवेदन आएपछि नै ती काम अघि बढाइने उनको भनाइ छ। अहिले विभागको भू–वातावरण शाखाले पहिरोको अध्ययन गरिरहेको छ। उनले भने, “भित्तामा पहिले पहिरो रोकथाम र सडकमा पनि ढलान गर्नुपर्ने भएमा लगानी बढी हुनसक्छ।”
आगामी वर्षको लक्ष्य बाँकी रहेका क्षेत्रमा काम अघि बढाउनु रहेको योजनाले जनाएको छ। ती क्षेत्रमा विस्तृत पहिरो रोकथाम गरेर सडक बनाउने गरी अघि बढाउन लागिएको उनको भनाइ थियो।
यस्तो सडकमा मकवानपुर जिल्लातर्फ साढे दुई किमी र ललितपुरमा साढे दुई किमी रहेको छ। ललितपुरतर्फ अझै पनि कतिपय खण्डमा कालोपत्र गर्न सकिने ठाउँमा गर्दा त्यो लम्बाइ अझै घट्नसक्ने जनाइएकोे। अब स्तरोन्नतिमा जान बाँकी खण्डमा पहिरो क्षेत्र र ‘ब्लाष्टिङ’ गर्नुपर्ने चट्टानी क्षेत्र रहेको छ।
ललितपुरमा छपेली र कार्कीवास क्षेत्रमा त्यस आसपास ठाउँ–ठाउँमा यो समस्या बढी रहेको योजनाले जनाएको छ।मकवानपुरको ठिंगन चार सय मिटरमा र बगुवालगायत क्षेत्रमा रहेको छ। विशेषगरी छपेली पर कार्कीवास क्षेत्रमा बढी रहेको छ। त्यो क्षेत्रमा स्तरोन्नतिका लागि अनुमान गरेर अर्थ मन्त्रालयमा सहमतिका लागि पठाइएको उनले बताए। योजना प्रमुख न्यौपानेले भने, “अहिले बहुवर्षीय सहमति नआएर रोकिएको छ।”
झन्डै ६ दशक पहिले ट्रयाक खुलिसकेको कान्ति राजमार्ग अझै सम्पन्न भइसकेको छैन। अहिलेसम्म समस्या नभएका स्थानमा कालोपत्र भइसकेकामा पहिरो आउने सम्भावित क्षेत्रमा मात्रै काम गर्न बाँकी रहेको छ। केही वर्षयता भीमफेदीबाट फर्पिङ आउने बाटोसँगै कान्ति राजमार्गको प्रयोग बढिरहेको छ। – रासस |
खडेरीको असर : खेतमै सुक्न थाल्यो धान र कोदाको बीउ गलेश्वर। खडेरीका कारण म्याग्दीका किसानले खेतमा राखेको धानको बीउ खेतमा नै सुक्न थालेको छ। लामो समयदेखिको खडेरी र तापक्रम वृद्धिका कारण यहाँको लेकाली क्षेत्रमा समेत रोपाइँ सुरु हुन सकेकोे छैन भने तल्लो क्षेत्रमा धानको बीउ, सिमीलगायत बर्खेबाली खेतबारीमै सुक्न थालेको किसानले बताएका छन्।
पानी नपर्दा लेकाली क्षेत्रमा कोदोसमेत रोप्न नपाएको मालिका गाउँपालिका–२ का कृष्णबहादुर विकले जानकारी दिए। “यतिबेला धमाधम कोदो र धान रोपाइँ सुरु हुने बेला भए पनि वर्षा नभएका कारण रोपाइँ त परको कुरा बीउसमेत राम्ररी फस्टाउन पाएको छैन”, उनले भने।
जिल्लाको बेनी नगरपालिकाका उपल्लो भेग र मालिका, धवलागिरि, मङ्गला, अन्नपूर्ण र रघुगङ्गाका लेकाली क्षेत्रमा विगतका वर्षमा यतिबेला कोदो रोपाइँ सकिन्थ्यो। केही ठाउँमा धान रोपाइँ भइसकेको हुन्थ्यो। तर यस वर्ष भने जिल्लामा कतै पनि रोपाइँ सुरु हुन नसकेको किसानको भनाइ छ।
लामो समयदेखि वर्षा नभएका कारण धान र कोदोको बीउ सुक्न थालेको छ भने मकैलगायत खेतबारीमा लगाएका अन्य गेडागुडी खेतीसमेत ओइलाउन थालेको बेनी –२ का किसान नारायण शर्मा सापकोटाले बताए। “यो वर्ष जस्तो खडेरी र चर्को गर्मी कहिल्यै भएको थिएन। गत वर्ष कोदो रोपेर धान रोपाइँ सुरु गरेका थियौँ” उनले भने, “यस वर्ष अहिलेसम्म कोदोसमेत रोप्न पाएका छैनौँ। बीउ सुकेर खेर जान लागिसक्यो।”
सिँचाइको सुविधा भएका क्षेत्रमा समेत खोलामा पानी नहुँदा रोपाइँ हुन नसकेको स्थानीयले बताएका छन्। पछिल्ला केही दिनयता तापक्रम ह्वात्तै बढेकाले बालीसमेत ओइलाउन थालेको उनको भनाइ छ।
जिल्लाका अधिकांश ठाउँमा वर्षाको भरमा खेतीबाली लगाइने गरिएको छ। करिब चार हजार हेक्टर जमिनमा सिँचाइको सुविधा भए पनि खोलानाला सुकेकाले समस्या भएको हो। जिल्लाको मुख्य बाली धान हो भने कोदो दोस्रो मुख्य बाली हो। मकै र गहुँ क्रमशः तेस्रो र चौथो बालीका रूपमा उत्पादन हुने गरेको छ।
जिल्लाभर सात हजार ३५ हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ भने झन्डै चार हजार हेक्टरमा कोदो र मकैखेती हुने गरेको छ। मुख्य बाली लगाउने समयमै खडेरी परेका कारण कृषकलाई समस्या परेको छ।
कृषि ज्ञान केन्द्र म्याग्दीले लामो समयदेखि वर्षा नहुँदा म्याग्दीमा रोपाइँ गर्न समस्या भएको जनाएको छ। मौसम सक्रिय नभएसम्म रोपाइँ गर्न नपाउने भएपछि कृषक समस्यामा परेका छन्। – रासस |
सुदूरपश्चिममा आज आम हड्ताल सुदूरपश्चिम। सुदुरपश्चिम प्रदेशमा सुरु भएको आम हडतालले जनजीवन प्रभावित भएको छ।
गेटा अस्पताललाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय कार्यान्वयनको माग गर्दै आज भएको आम हडतालले जनजीवन प्रभावित भएको हो।
विश्वविद्यालय स्थापनार्थ गठित संघर्ष समितिले यसअघि सार्वजनिक गरेको बिरोध कार्यक्रमको तालिका अनुसार आज सुदूरपश्चिम प्रदेशमा आम हड्तालको आयोजना गरेको हो। जसका कारण नाै जिल्लाकाे जनजीवन प्रभाबित हुन पुगेकाे छ।
काठमाडौंमासमेत बिरोध प्रदर्शन गरेका असन्तुष्ट समूहले आज सो प्रदेश ठप्प पारेका छन्। सो हड्तालका कारण सो प्रदेशका ९ वटै जिल्लामा लामो तथा छोटो दूरीका सवारी साधन चल्न सकेको छैन।
प्रहरीको अनुसार महेन्द्र राजमार्गमा ठुला सवारी साधान चलेका छैनन भने अन्य सहायक मार्ग पनि दुई पाङग्रे सवारी साधान मात्रै छिटफुट रुपमा चलेका छन्।
गत २९ माघमा बसेको मन्त्रिपरिषद्को बैठकले गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको थियो, साे अघि सुदुरपश्चिम भ्रमणमा गएका प्रधानमन्त्री प्रचण्डले गेटालाई बिश्वबिद्यालय बनाउने घोषणा पनि गरेका थिए।
तर, गत जेठ १५ मा सरकारले ल्याएको बजेटमा विश्वविद्यालयको ठाउँमा प्रतिष्ठानका रुपमा अघि बढाउने र एक सय शैय्याको अस्पताल सञ्चालन गर्ने घोषणा गरे पछि सुदुरपश्चेमेली नागरिकमा असन्तुष्टि बढेको हो। |
कालीकोटको गविराममा जिप दुर्घटना, तीन जनाको मृत्यु मान्म। कालीकोटको शुभकालिका गाउँपालिका-६ गविरामा गए राति लु१च ८४९८ नम्बरका जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
जिप कालीकोटको बेउली पान्तडी सडकखण्डको चौकी बजारबाट हाउडी हुँदै शुभकालिकातर्फ जाँदै गर्दा शुभकालिका-६ गविराममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ।
दुर्घटनामा परेर जिप चालक शुभकालिका-२ का ३० वर्षीय हर्क विश्वकर्मा, शुभकालिका-८ का ३१ वर्षीय रामबहादुर शाही र दैलेख नौमुले-३ का २५ वर्षीय गोपाल सलामीमगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख जयश्वर रिमालले जानकारी दिए।
दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको उनले बताए। “घटना मध्यराति भएकाले दुर्घटनाको कारण खुल्न सकेको छैन”, प्रहरी प्रमुख रिमालले भने, “जिपमा सवार तिनै जनाको मृत्यु भएको, देख्ने र घाइते अन्य नभएकाले पनि दुर्घटनाका कारण खुल्न सकेन।” रासस |
यात्रुवाहक बसमा ‘डस्टविन’राख्न पत्राचार दमाैली। तनहुँको व्यास नगरपालिकाले यात्रुवाहक बसमा अनिवार्य ‘डस्टविन’को व्यवस्था मिलाउन यातायात समितिलाई पत्राचार गरेको छ। व्यास नगरलाई सफा र स्वच्छ बनाउने उद्देश्यसहित जथाभावी फोहर फाल्ने कार्यलाई न्यूनीकरण गर्न यात्रुवाहक बसमा ‘डस्टविन’ को व्यवस्था मिलाउन पत्राचार गरेको हो।
जथाभावीरूपमा फोहर फालिदिँदा नगरपालिका दुर्गन्धित हुने भएकाले सवारीसाधनमा अनिवार्य ‘डस्टविन’को व्यवस्थापनका लागि निर्देशनसहित पत्राचार गरिएको प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले जानकारी दिए। उनले भने, “नगरपालिकालाई वातावरणमैत्री सहर बनाउन नगर क्षेत्रभित्र गुड्ने सवारीसाधनमा अनिवार्य डस्टविन राख्न भनेका छौँ।”
सवारीसाधनमा यात्रा गर्ने यात्रुलाई पनि जथाभावीरूपमा फोहर नफाल्न यातायात समितिमार्फत जानकारी गराउन निर्देशन दिइएको उनले बताए। जथाभावीरूपमा अटेर गरी फोहर फालेमा पहिलोपटक रु तीन हजार र दोस्रोपटक रु सात हजारसम्म जरिवाना गरिने उनले जानकारी दिए।
नगरपालिकाले पृथ्वीराजमार्ग यातायात समिति, स्थानीय यातायात प्रालि, व्यासभूमि यातायात प्रालि, ट्याक्सी व्यवसायी समिति र अटो रिक्सा व्यवसायी समितिलाई पत्राचार गरेको हो। नगरपालिकाले बजारका विभिन्न क्षेत्रमा फोहरमैला व्यवस्थापनसम्बन्धी सचेतनामूलक बोर्ड राखेको छ। नगरपालिकाका सरसफाइ शाखाका प्रमुख भाग्यशाली ढुंगानाका अनुसार बजारका मुख्य-मुख्य भागमा जथाभावी फोहर नफालौँ, फोहर फालेमा हुने कानुनी कारबाहीलगायतका विषयमा सचेतना दिन सचेतनामूलक बोर्ड राखिएको छ।
व्यास नगर फोहरमैला व्यवस्थापन कार्यविधि, २०७८ अनुसार दफा १४ (क) नगरपालिका वा सम्बन्धित वडाले तोकिएको समय र स्थानबाहेक अन्यत्र फोहरमैला निष्काशन गरी यत्रतत्र राखेमा वा फालेमा सोही कार्यविधिको दफा १९ अनुसार कसुर गर्ने व्यक्तिलाई जरिवाना गरिने उनले बताए।
त्यस्ता व्यक्तिलाई पहिलोपटक रु तीन हजार जरिवाना, दोस्रोपटक सोही कसुर गरेमा रु तीन हजारदेखि रु सात हजारसम्म जरिवाना र फोहरमैला उठाउँदा लाग्ने खर्चसमेत निजबाट असुलउपर गरिने जनाइएको छ।
साथै जथाभावी चोक-चोकमा फुटपाट व्यवसाय नगर्न र पशु बध तोकिएको स्थानमा मात्र गर्न नगरपालिकाले आग्रह गरेको छ। उनले भने, “जथाभावीरूपमा फोहर फालिदिने प्रवृत्ति बढ्दो छ, त्यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्न यो व्यवस्था गरेका हौँ। यसले गर्दा फोहरमैला व्यवस्थापनमा सहयोग पुग्ने विश्वास गरेका छौँ।” व्यास नगरपालिकाले बजार क्षेत्रको वडा नं २, ३ र ४ बाट दैनिकरूपमा फोहर संकलन गर्दै आएको छ। नगरपालिकाका बजार क्षेत्रबाट दैनिक ११ टन फोहर संकलन हुने गरेको छ।
स्थापनाको ३० वर्ष पुगिसक्दा पनि नगरपालिकाले फोहरमैला केन्द्र बनाउन भने सकेको छैन। व्यास नगरपालिका सरसफाइ केन्द्र निर्माणका लागि जग्गा व्यवस्थापनमा जुटे पनि उक्त प्रयास सफल हुन सकिरहेको छैन।
व्यास नगरपालिकाले हाल वडा नं १३ स्थित सोढेको बुद्धसिं राजमार्ग आसपास फोहरमैला बिसर्जन गर्दै आएको छ। यसअघि व्यास-३ मादीस्थित भतेरीमा फोहर फाल्दै आएको नगरपालिकाले उक्त ठाउँ मादीले कटान गरिदिएपछि चारकुनेमा जग्गा भाडामा लिएर फोहर फाल्दै आएको थियो। उक्त ठाउँ पनि फोहरले भरिएपछि फोहर फाल्ने ठाउँ नपाएर नगरपालिकाले सोढेमा फोहर फाल्दै आएको छ। रासस |
बलात्कार आरोपमा उच्च अदालत वीरगन्जका अधिकृत पक्राउ काठमाडौं । उच्च अदालत वीरगन्जमा कार्यरत अधिकृत नारायण प्याकुरेल बलात्कार आरोपमा पक्राउ परेका छन् ।
२२ वर्षीय किशोरीलाई जबरजस्ती करणी प्रयास गरेको आरोपमा विराटनगरबाट अधिकृत प्याकुरेललाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ ।
राति किशोरीको घरमा नै गएर जबरजस्ती करणीको प्रयास गरेको जाहेरीका आधारमा अधिकृत प्याकुरेललाई पक्राउ गरेको प्रहरीको भनाइ छ । प्याकुरेलविरुद्ध जबरजस्ती करणी उद्योगमा जाहेरी दर्ता भएको छ। |
पाल्पामा एक हजार २२ बोरा अवैध युरिया मल बरामद तानसेन । पाल्पामा प्रहरीले अवैध युरिया मल बरामद गरेको छ । जिल्लाको रामपुर नगरपालिका र रम्भा गाउँपालिकाबाट एक हजार २२ बोरा अवैध मल प्रहरीले बरामद गरेको हो ।
रामपुर नगरपालिका–५ स्थित बेझाड बजारमा विजय श्रेष्ठको चारतले घरको सटर कोठामा अवैधरूपमा भण्डारण गरी राखेको छ सय ५० बोरा र रम्भा गाउँपालिका–१ स्थित कालीगण्डकी करिडोर सडकखण्डमा प्रहरी चौकी हुँगीले तीन सय ७२ बोरा मल बरामद गरेको छ ।
रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाको संयोजकत्वमा रहेको उपभोक्ता हित संरक्षण समिति र प्रहरीले शनिबार दिउँसो अनुगमन गर्ने क्रममा मल फेला पारेको हो । केही दिनदेखि रामपुर–५ बेझाडस्थित विजय श्रेष्ठको घरको पहिलो तलाको भाडाको सटर कोठामा मल भण्डारण गरेको अवस्थामा ‘प्रधानमन्त्री भारतीय जनउर्वरक परियोजना भारत युरिया’ नामक रासायनिक मल ठूलो मात्रामा भेटिएको छ ।
इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक लक्ष्मण देवकोटाले आशङ्का लागेको स्थानमा अनुगमन गर्ने क्रममा भण्डारण गरेर राखिएको पाइएको जानकारी दिए । सम्बन्धित व्यक्तिलाई नभेटेपछि ताला काटेर हेर्दा छ सय ५० बोरा मल फेला परेको उनले बताए ।
अवैधरूपमा भण्डारण भएको युरिया मल अहिले जनप्रतिनिधि, सरोकारवालाको रोहवरमा सटर कोठा सिल गरिएको छ । रामपुरमा ठूलो परिमाणमा अवैध मल फेला परेपछि जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापासहितको टोलीले स्थलगत रूपमा अनुगमन गरेको छ ।
“अहिलेलाई सिल गरेर मल राखिएको छ, मल कसरी भित्रियो यसबारेमा प्रहरीले अनुसन्धान गर्नेछ, अवैधरूपमा ल्याएको पाइएमा सम्बन्धित व्यक्ति वा व्यापारीलाई कानूनी कारबाही हुनेछ”, प्रहरी उपरीक्षक थापाले भने ।
यसैगरी नवलपरासीबाट पाल्पाको रामपुरतर्फ आउँदै गरेको लु १ ख ३८१ नम्बरको ट्रकलाई रोकी जाँच गर्ने क्रममा शनिबार बिहान भारतीय जनउर्वरक परियोजना भारत युरिया नामक युरिया मल १६ हजार सात सय ४० किलो अर्थात तीन सय ७२ बोरा रु दुई लाख ९७ हजार छ सय मूल्य बराबरको बिल नभएको मल भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
सो मल, ट्रक र चालकसहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि भन्सार कार्यालय पठाइएको छ । ट्रकले पहिले चामलको बिल देखाएको र पछि अनुसन्धान गर्दै गर्दा युरियाको बिल फेला परेको हो । तर बिलमा भने क्रेता र पान नं। फरक–फरक व्यक्तिको रहेको स्रोतले जनाएको छ । रामपुरमा ठूलो परिमाणमा भारतीय मल भित्रिएको आशङ्कापश्चात मल बिक्रेता विभिन्न सहकारीको पनि अनुगमन गरिएको छ ।
रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा, उपप्रमुख बालकुमारी थापा, प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपाने, कृषि शाखा प्रमुख रामहरि पाण्डेय, रामपुर–५ का वडाध्यक्ष दुर्गाप्रसाद पोखरेल, रामपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालसहित प्रहरी र पत्रकारहरूको उपस्थितिमा अनुगमन गरिएको हो । रासायनिक मल, त्यसका बिल, आयात गर्ने व्यापारीलगायत विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस |
सरकार ‘फेसलेस गभर्नेन्स’ तर्फ उन्मुख छ : मन्त्री शर्मा ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) कार्यान्वयनमा सरकार कडाइका साथ लागेको भन्दै यसमा सहयोग गर्न मोबाइल व्यवसायीहरूलाई आग्रह गरेकी छन् ।
मन्त्री शर्माले कर छली हुन नदिन ल्याइएको प्रणाली कार्यान्वयनमा सहयोग गर्ने व्यवसायीका हितमा सरकार सहयोग गर्न सधैँ तत्पर रहेको बताइन् । नेपाल मोबाइल व्यवसायी महासङ्घको दोस्रो साधारणसभामा उनले भनिन्, “मोबाइल मनोरञ्जनको साधन मात्र नभई अत्यावश्यकीय साधन बनिसकेको छ, २०६३ पछि बनेको सरकारका सञ्चारमन्त्री कृष्णबहादुर महरा हुँदा ल्याइएको ‘हातहातमा मोबाइल, घरघरमा इन्टरनेट’ अभियानलाई मूर्त रूप दिँदै वर्तमान सरकार ‘फेसलेस गभर्नेन्स’ तर्फ उन्मुख भइसकेको छ ।”
मन्त्री शर्माले मोबाइल आयातलाई भन्दा बिग्रेका मोबाइललाई पुनः प्रयोग गर्न सक्ने खालको उद्योग मुलुकभित्रै सञ्चालन गर्न व्यवसायीलाई आग्रह गरिन् । उनले त्यस्ता उद्योग सुरु भए रोजगारी बढ्ने र स्वदेशी मुद्रा बाहिरिन न्यूनीकरण हुने भएकाले ति व्यवसायीलाई राज्यले उचित नीतिगत सहयोग गर्न कूल बजेटको एक प्रतिशत रकम लगानी गर्ने सरकारको नीति रहेको बताइन् ।
नेपाल मोबाइल व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष भरत भट्टराईले बर्सेनि रु ४० अर्बभन्दा बढी राजस्व उठाउने र ५० हजारभन्दा बढी रोजगार प्रदान गरिरहेका मोबाइल व्यवसायी यतिबेला सङ्कटपूर्ण अवस्थाबाट गुज्रिरहेको बताए । मोबाइल बिक्रीमा अत्यन्तै कम ‘मार्जिन’ रहेको, अनलाइन तथा अफलाइनका नाममा अव्यावसायिक प्रतिस्पर्धा बढेको र मोबाइललाई बिलासिताको वस्तुका रूपमा हेरिएका कारण आयातमा कडाइ भइरहेको अवस्थाले व्यवसायी सङ्कटमा पुगेको उनको भनाइ थियो ।
अध्यक्ष भट्टराईले राज्यलाई कर तिरेको अनुपातका आधारमा पेशागत तथा सामाजिक सुरक्षाको ग्यारेन्टी गरिदिन सरकारसँग माग गरे । उनले स्वदेशमै दक्ष जनशक्ति उत्पादन गर्न सरकारलाई सहजीकरण गर्ने बताए । आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनालीले विभाग र महासङ्घको सहकार्यमा व्यवसायीलाई करसम्बन्धी विषयमा सचेतना जगाउँदै अनावश्यक झन्झटबाट मुक्ति दिने प्रतिबद्धता जनाए । ललितपुर उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष विश्वराज बज्राचार्यले समाज रूपान्तरणमा मोबाइलले महत्त्वपूर्ण भूमिका निर्वाह गरे पनि त्यही व्यवसायबाट बाँच्ने व्यवसायीहरू समस्याग्रस्त रहेको सुन्दा दुःख लागेको बताए ।
मोबाइल व्यवसायी महासङ्घका महासचिव रमेशकुमार घिमिरे र कोषाध्यक्ष सन्तोष घिमिरेले महासङ्घको गत आर्थिक वर्षको साङ्गठनिक तथा आर्थिक प्रतिवेदन सार्वजनिक गरेका थिए । कार्यक्रममा सगरमाथा लुम्बिनी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत, विभिन्न मोबाइल आयातकर्ता कम्पनीका प्रमुखका साथै मुलुकभरका मोबाइल व्यवसायीको प्रतिनिधिमूलक सहभागिता रहेको थियो । |
पर्यटकीय आकर्षण बढाउन ‘हनि हन्टिङ’ कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा पर्यटकीय आकर्षण बढाउन भीर मौरीको मह काट्ने (हनि हन्टिङ) कार्यक्रम सञ्चालन गरिने भएको छ ।
माछापुच्छ्रे गाउँपालिका–९ स्थित सिदिङ युनाइटेड क्लबको आयोजनामा ‘हनि हन्टिङ’ गर्न लागिएको सो वडाका अध्यक्ष हरिबहादुर क्षेत्री (राजेन्द्र) ले जानकारी दिए । मर्दी खोलाको आधार शिविरमा पर्ने ठूलो भीर र कोप्रे भीरमा जेठ २८ र २९ गते दुई दिनसम्म ‘हनि हन्टिङ’ कार्यक्रम गरिने वडाध्यक्ष अधिकारीले बताए ।
जेठ असारमा भीर मौरीको सिकार गर्नु उपयुक्त समय भएकाले पर्यटकीय आकर्षणको केन्द्र बनाउने उद्देश्यसहित कार्यक्रम गरिएको वडाध्यक्ष अधिकारीले बताए । यो समयमा ‘हनि हन्टिङ’ निकै चुनौती र जोखिमपूर्ण रहेको वडाध्यक्ष अधिकारीको भनाइ छ । “जेठ र असारमा काटेको भीर मौरीको सिकार गर्नु अलि बढी खतरा मानिन्छ”, वडा अध्यक्ष अधिकारीले भने, “सुरक्षा चुनौतीको समाना गर्न वडाले समन्वय गरिरहेको छ । यो पर्यटकीय आकर्षणको केन्द्र बन्नसक्छ ।”
स्थानीय मेखबहादुर तामाङका अनुसार ‘हनि हन्टिङ’ मा प्राचिन तरिकाले जसरी मह काटिन्थ्यो त्यसरी नै काटिने छ । यो नयाँ पुस्ताका लागि नौलो हुने उनको विश्वास छ । ‘हनि हन्टिङ’ हुने भीर मर्दी हिमाल ट्रेक तथा माछापुच्छे« नमूना पैदल मार्गको सङ्गमस्थल हो । ‘हनि हन्टिङ’ कार्यक्रमले पदयात्रामा जाने पर्यटकका लागि समेत आकर्षण थपिने स्थानीय तामाङले बताए । भीर मौरीको मह काट्नका लागि दिन हेराएर साइत जुराउने प्रचलन रहेको स्थानीय तामाङले जानकारी दिए । |
आउँदो मंगलबारबाट नेपालमा मनसुन प्रवेश हुने ! काठमाडौं । नेपालमा आउँदो मंगलबारदेखि गर्मी केही कम हुने पूर्वानुमान गरिएको छ ।
अरब सागरमा विकसित भएको बीपरज्वए आँधी र बङ्गालको खाँडीमा विकसित न्यूनचापीय प्रभावले मंलबारदेखि नेपालमा बदली भइ गर्मी घट्ने सम्भावना रहेको जलवायु तथा विपदविज्ञ डा. धर्मराज उप्रेतीले जानकारी दिए । दुई वटा प्रणालीले मनसुनी वायुलाई उत्तरतर्फ धकेल्न सहयोग गर्ने भएकाले मंगलबार वा बुधबार मनसुन नेपालमा प्रवेश गर्ने सम्भावना देखिएको उनले बताए ।
आज मनसुन भारतको केरलाको सबै भागसहित कर्नाटकका केही भाग र बङ्गालको खाडीको पूर्व र उत्तरभागमा पुगेको छ । त्यहाँ आउँदो ४८ घण्टामा मनसुन थप सक्रिय हुने भारतको मौसम विभागले जनाएको छ ।
चाँडो सक्रिय भइरहेको मनसुनलाई अरब सागरको आँधी र बङ्गालको खाडीको न्यूनचापीय अवस्थाले चाँडो नेपालतर्फ धकेल्ने भएकाले नेपालमा गर्मी घट्ने बताइएको छ । आज स्थानीय वायुका कारण काठमाडौं उपत्यकामा गर्मी सामान्य घटेको छ । |
चालक नै लागुऔषध सेवन गर्न थालेपछि रुपन्देही ट्राफिकको लापसे चेकजाँच भैरहवा। चालक नै लागु औषध सेवन गरेको भन्ने जनगुनासो बढेसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले सडकमै लागुऔषध सेवनकर्ताको चेकजाँच गर्न सुरू गरेको छ ।
सिमावर्ती क्षेत्रमा खुला रुपमा पाइने लागुऔषधको सेवन गरी सवारी चलाउदा ज्यान नै जोखिममा हुने गरेको भन्दै सडक सुरक्षा अभियान अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय बेलहिया र लागुऔषध नियन्त्रण ब्युरोको सहकार्यकामा चालकहरुले लागु औषध सेवन (लापसे)गरे नगरेको परिक्षण गरिएको हो ।
पश्चिमाञचल ट्रक यातायात व्यवसायी समितिको सहयोगमा प्राप्त भएको रेपिड मल्टी ड्रग टेष्टडिपकार्ड (किट) मार्फत चालकले विभिन्न ६ प्रकारको लागुऔषध सेवन गरे नगरेको परिक्षण भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी निरिक्षक साकारराज पन्तले बताए ।
‘प्रहरी सामुदायिक साझेदारी कार्यक्रम अन्तर्गत नै सिमावर्ती क्षेत्र बेलहियाबाट छुट्ने गाडीहरुको चालकको परिक्षण गरेका छौ, आकस्मिक रुपमा बेला बेलामा विभिन्न ठाउमा यो परिक्षण गर्ने गरेका छौ,’ उनले भने ।
उनका अनुसार जनगुनासो बढेपछि डण्डा खोला नजिकै संयुक्त टिमले परिक्षण गरेको हो । बेलहिया तर्फबाट आउने अधिकांस चालकहरुको परिक्षण गरेका छौ, केही संकास्पद देखिएपछि किट मार्फत परिक्षण गरिएको उनले भने । परिक्षण गरिएको ११ जना मध्ये ३ जनाले लागुऔषध सेवन गरेको पाइएको ट्राफिक प्रमुख पन्तले भने ।
विशेष चेकिङका क्रममा लागुऔषध सेवन गरी सवारी साधन चलाउने उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाहीका प्रहरीलाई बुझाएका छौ, अनुसन्धान गरी प्रयोगकर्ता हो कि ओसारपसार वा अन्यमा संलग्न छ भन्ने खुलेपछि सोही अनुसार कारवाही हुने छ ।
ट्राफिक प्रहरीले अहिले परिक्षण गर्ने किटले ६ प्रकारको लागु औषध प्रयोग गरेको हो वा हैन भन्ने पुष्टि गर्छ । गाजा, कोकिन, ब्राउन सुगर, डाइजेपाम, एम्फेटामाइन र बार्विटुरेट्स समूहको लागु औषध प्रयोग गरेको छ भनि किट मार्फत अन द स्पट चेक हुने छ । किट केही खर्चिलो भएकोले यो अभियानलाई निरन्तर गर्न नसकेपनि बेला बेलामामा भएको सिमित किट मार्फत छड्के परिक्षण गर्ने गरेको कार्यालयले जानकारी दिएको छ ।
मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने चालकलाई लामो समयदेखि नै ट्राफिक प्रहरीले कारबाही गर्दै आए पनि पछिल्लो समय लागुऔषध सेवन गरेर सवारी साधन चलाउने चालक भेटिन थालेपछि लागुऔषध जाँच अभियानलाई कार्यालयले तीव्रता दिइएको छ ।
एक साता अघि पनि रुपन्देहीबाट चेकजाँचकै क्रममा ३ जना चालकले लागु औषध सेवन गरि सवारीसाधन चलाएको पाएपछि कारवाही गरेको थियो । कारवाहीमा पर्ने डरले सिमा क्षेत्रबाट चल्ने सवारीसाधनका चालकहरु सचेत हुदै गएपनि पूर्ण रुपमा रोक्न सकिएको छैन । |
१२ बर्ष पछि नाम्चे बजारमा सबैभन्दा बढी उच्च तापमान सोलुखम्बु। विश्वको सर्वोच्च शिखर सगरमाथाको प्रवेशद्वार नाम्चे बजारमा विगत केही वर्षको तुलनामा यस वर्ष सबैभन्दा बढी गर्मी रहेको छ ।
समुन्द्र सतहबाट ३४०० मिटरको उचाइमा रहेको नाम्चे बजारमा दैनिक तापक्रम १३ डिग्री सेल्सियस पुगेको छ । यो पछिल्लो १२ वर्षमा सबैभन्दा बढी हो।
यहाँ १२ वर्षअघि पनि यस्तै तापक्रम बढेको स्थानीयवासीले बताएका छन् । नाम्चे बजारमा बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म घाम लाग्ने भएकाले तापक्रम दोहोरो अंकमा पुगेको होण्। विगत केही वर्षयता यसै सिजनमा नाम्चे बजारको औसत तापक्रम ४–५ डिग्री सेल्सियस रहदै आएको थियो ।
नेपालको जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार यस क्षेत्रमा तत्कालै थप पानी पर्ने सम्भावना छैन । छिटपुट वर्षा हुन सक्छ तर तापक्रम घट्ने अपेक्षा भने गरिएको छैन। |
गर्मीका कारण बाँकेमा सर्पदंशका बिरामी बढ्दै नेपालगञ्ज। अत्यधिक गर्मीका कारण बाँकेमा सर्पदंशका बिरामी बढ्न थालेका छन् ।
गर्मी बढे्सँगै यहाँका भेरी अस्पताल, राँझास्थित सर्पदंश उपचार केन्द्र र शम्शेरगञ्जस्थित सर्पदंश उपचार केन्द्रमा पछिल्लो समय सर्पदंशको उपचारका लागि आउने बिरामी बढ्न थालेका हुन् ।
दैलेखका माधव आचार्यलाई कोहलपुरमा वैशाख ३१ गते करेट नाम गरेको सर्पले टोकपछि उनले नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार गराए। रोजगारीका लागि भारत जानका लागि यहाँ आएका ३७ वर्षीय आचार्यलाई आफन्तको घरमा राति भुइँमा सुतिरहेको अवस्थामा सर्पले टोकेको थियो ।
अस्पतालमा १४ दिन आइसियु र दुई दिन वार्डमा बसेर उनले उपचार गराएको उनका बुबा हेमलाल आचार्यले बताए।
“माधव खतरामुक्त भएर घर फर्किए पनि अझै हिँड्डुल गर्न गाह्रो हुने गरेको छ”, उनले भने। उनका अनुसार छोरालाई अहिले पनि हातका औँला, हत्केला र पैताला जलन हुने गरेको छ ।
“खतरामुक्त भएपछि अस्पतालबाट डिस्चार्ज भएर घर त आयौँ तर छोराको अवस्था भने सामान्य छैन,” आचार्यले भने, “माधव पहिलाको जस्तो सजिलै हिँड्डुल गर्न सक्दैन । जतिखेरै हातका औँला, हत्केला र पैताला पोलिरहेको छ मात्र भन्छ ।”
बुबा हेमलालका अनुसार माधवको जलन भएको ठाउँमा निरन्तर पानी पट्टि लगाउनुका साथै मसाज गरिरहनु पर्दछ । सर्पले टोकेपछि उपचारका लागि रू एक लाख २० हजार खर्च भएको बुबा हेमलालले जानकारी दिए। भेरी अस्पतालमा उपचार गराउँदा भित्रबाट पाइने औषधि, आइसियु र वार्डको खर्चमा अस्पतालले छुट दिएको उनको भनाइ थियो ।
कामको सिलसिलामा बर्दियाको बाँसगढीमा इँटाभट्टामा काम गर्ने भारतीय नागरिक मोहम्मद हनिदलाई राति सुतिरहेको अवस्थामा करेट सर्पले टोकेको थियो। तेइस वर्षीय मोहम्मदलाई जेठ २० गते राति सर्पले टोकेको थियो । पाँच दिनको उपचारपश्चात् उनी बिहीबार निको भई घर गएका छन्।
घर फर्किएका मोहम्मदको पनि स्वाथ्य अवस्था सामान्य नभएको उनले काम गर्ने इँटाभट्टाका प्रमुख खगेन्द्र कँडेलले जानकारी दिए। उनका अनुसार मोहम्मदको बोलीमा स्पष्टता छैन भने हिँडाइमा पनि केही समस्या देखिएको छ।
“अस्पतालबाट डिस्चार्ज भएर मोहम्मद यहाँ आएको तीन दिन भयो । अस्पतालबाट आएदेखि उसको बोली सुस्त छ”, प्रमुख कँडेलले भने, “उसले अहिले पनि औषधि खाइरहेको छ ।” उनका अनुसार मोहम्मदको उपचारमा रू ६२ हजार खर्च भएको छ ।
यही जेठ ८ गते नेपालगञ्ज उपमहानगरपालिका-२३ जङ्गलसिंङ पुरुवाका २२ वर्षीया सहजरानी यादवलाई कोब्रा नाम गरेको सर्पले टोकेको थियो । उनलाई दिउँसो धारामा पानी पिउन जाँदा सर्पले टोकेको थियो।
सहजरानी १० दिनको उपचारपछि निको भई घर फर्किएका छन्। उनको उपचारमा रू ३५ हजार खर्च भएको परिवारले जनाएको छ। उनले अहिले पनि औषधि खाइरहेको उनका भाइले बताए।
अत्यधिक गर्मीका कारण सर्पदंशका बिरामी अस्पताल आउने क्रम बढ्दै गएको भेरी अस्पतालका वरिष्ठ कन्सल्टेन्ट एनिस्थेसोलोजिस्ट डाक्टर कृष्णप्रसाद आचार्यले बताए। उनका अनुसार वैशाखको अन्तिमदेखि सर्पदंशका बिरामी अस्पताल आउन थालेका हुन्।
एक महिनाको अवधिमा तीनजना गम्भीर प्रकृतिका सर्पदंशका बिरामीलाई उपचार गरी डिस्चार्ज गरिएको डा आचार्यले बताए। उनका अनुसार गर्मी बढ्दै गर्दा विशेष गरी करेट र कोब्राले टोकेर विष लागेका बिरामी उपचारका लागि अस्पताल आउने गरेका छन्।
“विषरहित सर्पले टोकेमा १० देखि १२ घन्टा विष लाग्छ कि भनेर निगरानीमा राख्छौँ । उक्त समयमा विष लागेको कुनै लक्षण नपाए घर फर्काउने गरेका छौँ”, डा आचार्यले भने, “विष लागेको अवस्थाका बिरामीलाई उनीहरुको स्वास्थ्य अवस्था हेरेर कम्तीमा दुई हप्तासम्म आइसियू र भेन्टिलेटरमा राखेर सुधार नहुुँदासम्म उपचार गर्छौँ ।”
निगरानीमा राखिएका बिरामीलाई विष नलागेको भेटिएमा १२ घन्टापछि सर्पदंशबाट बच्ने उपाय सिकाएर घर पठाउने गरिएको उनको भनाइ छ ।आठ वर्षदेखि सर्पदंशको क्षेत्रमा काम गर्दै आएका डा आचार्यले नेपालभरि नै सर्पदंशबाट कसरी बच्ने र सर्पदंश भइसकेको अवस्थामा उपचार कसरी गर्ने भनेर विभिन्न ठाउँमा स्वास्थ्यकर्मीलाई तालिम दिने गरेको बताए।
सर्पदंशबाट बच्नका लागि राति सुत्नुभन्दा पहिला बिस्तरा राम्री झारेर झूल टाँगेरमात्र सुत्ने, भुइँमा नसुत्ने, घर वरपर भएको जङ्गल वा झाडीलाई सफा बनाई राख्ने, सर्पको आहार कुखुरा भएको हुनाले राति कुखुरा कराएको सुनिएमा लाइट बालेरमात्र खोरको चेकजाँच गर्ने, घरमा मुसा छन् भने मुसालाई नियन्त्रण गर्नेलगायत भएको उनले बताए।
बाँकेको राँझास्थित सर्पदंश उपचार केन्द्रमा जेठमा मात्रै तीनजना सर्पदंशका बिरामी आएको स्वास्थ्य प्राविधिक राजन कुँवरले बताए। उनले विष लागेका दुईजनालाई थप उपचारका लागि नेपालगञ्जको भेरी अस्पतालमा पठाइएको जानकारी दिए। उनका अनुसार भेरी अस्पताल पठाइएकामा नेपालगञ्ज उपमहानगरपालिका १९ मोहनपुरका मुनसिङ सार्की र डुडुवा गाउँपालिका–५ नानपुरकी सरिता लामिछाने मगर छन्।
जानकी गाउँपालिका-६ का रमावती भाटालाई विषरहित सर्पले टोकेकाले उनलाई केन्द्रबाटै प्रारम्भिक उपचार गरी घर फर्काइएको स्वास्थ्य प्राविधिक कुँवरले बताए। उनका अनुसार गत वर्ष १० जना सर्पदंशका बिरामी उपचारका लागि केन्द्रमा आएका थिए । समुदाय र नेपाल आर्मीको सहकार्यमा स्थानीयलाई सर्पदशं सम्बन्धी उपचार गर्ने उद्देश्यले केन्द्रको स्थापना गरिएको उनले बताए।
त्यस्तै, बाँकेको शम्शेरगञ्जस्थित सर्पदंश उपचार केन्द्रमा पनि जेठमा दुई जना सर्पदंशका बिरामी उपचारका लागि आएको अहेव नन्दलाल पाण्डेले जानकारी दिए। उनका अनुसार बाँकेको राप्तिसोनारी गाउँपालिका-८ जिरो बजारकी पप्पीकुमारी बोहोरालाई सर्पले टोकेको थियो ।
“पप्पीलाई सर्पको विष लागेको कुनै लक्षण नदेखिए पछि १० घन्टाको निगरानीपछि सर्पबाट बच्ने उपाय सम्झाएर घर पठाएका हौँ”, उनले भने।सोही केन्द्रमा सर्पदंशको उपचार गर्न राप्तिसोनारी गाउँपालिका-१ कुसुमकी कमला वली जेठको २३ गते आएकी अहेव पाण्डेले बताए।
उनका अनुसार वलीलाई विषालु सर्पले नटोकेकाले विष लागेको कुनै लक्षण नदेखिएपछि १० घन्टा निगरानीमा राखेपछि घर फर्काइएको थियो । पाण्डेका अनुसार अघिल्लो वर्ष वैशाखदेखि भदौसम्ममा ३५ जना सर्पदंशका बिरामी उपचारका लागि आएका थिए ।गर्मी याममा बढी सर्पदंशका बिरामी आउने भन्दै यो सङ्ख्या अझै बढ्ने उनको भनाइ थियो ।
राँझा र शम्शेरगञ्जमा विषरहित बिरामीको उपचार गरिन्छ भने विष लागेका बिरामीलाई भेरी अस्पताल पठाउने गरिएको छ । |
हरिपुर्वा नगरपालिकामा दुई महिनादेखि तालाबन्दी, विकास निर्माणको काम प्रभावित सर्लाही। सर्लाहीको हरिपुर्वा नगरपालिका कार्यालयमा तालाबन्दी भएको करिब दुई महिना भयो। नगरका जनप्रतिनिधिबीच राजनीतिक आग्रह पूर्वाग्रह रहेका कारण लागेको लालबन्दी खुलाउने प्रयास कसैले नगर्दा नगरको विकास निर्माणको काम प्रभावित भएको छ।
नगरपालिकमा राजनीतिक विवादका कारण प्रमुख प्रशासकीय अधिकृत नगरपालिका आउन नमान्नु हरिपुर्वा नगरपालिकाका लागि कुनै अनौठो कुरा होइन। दुई महिनाको अवधिमा चार जना प्रमुख प्रशासकीय अधिकृत सरुवा भएर आए पनि कोही नबसेका नगर प्रमुख विनोद साहले जानकारी दिए। उनका अनुसार स्थानीय तहको दोस्रो निर्वाचनमार्फत नगरपालिकामा नयाँ जनप्रतिनिधि आएको भएको पनि एक वर्ष पूरा भएको छ तर आन्तरिक विवादका कारण नगरको विकासको काम ठप्पजस्तै छ।
राजनीतिक द्वन्द्वका कारण हरिपुर्वा नगरपालिकाको आर्थिक वर्ष २०७९÷०८० को नगरसभा नै ढिलो भयो । गत मङ्सिरमा नगरसभा भए पनि विकासको काम अघि बढ्न नसकेको नगर प्रमुख साहले बताए। हरिपुर्वा नगरपालिकाका लागि कार्यालय सहयोगी भर्ना, नगरपालिकाको भवन निर्माण गर्ने स्थान, प्रहरीचौकी निर्माणजस्ता कुरामा जनप्रतिनिधि र राजनीतिक दलहरुबीच कुरा नमिल्दा नगरपालिकाको कार्यालयमा तालाबन्दीको अवस्था आएको स्थानीय युवा वीरेन्द्रप्रसाद अधिकारीले बताए।
नेपाली कांग्रेस, नेकपा (एमाले), जनता समाजवादी पार्टी(जसपा) नेपाल, नेकपा(माओवादी केन्द्र) सहितका पार्टीले एक सर्वदलीय संघर्ष समिति नै बनाएर नगरपालिकाको आफ्नै जमिनमा कार्यालय भवन बनाउनुपर्ने, प्रहरीचौकीका लागि खरिद गरेकै जमिनमा भवन बनाउनु पर्नेलगायतका नौ माग राखेर आन्दोलन गरेको सर्वदलीय संघर्ष समितिका संयोजक विकाउ यादवले बताए।
उनका अनुसार माग पूरा गर्न नगरपालिकाले चासो नदिएपछि सङ्घर्ष समितिले नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतसहित नगरपालिकाको कार्यालयमा तालाबन्दी गरिएको हो।
गत चैत १५ गतेदेखि नगरपालिकाको कार्यालयमा तालाबन्दी गरिएको संघर्ष समितिका संयोजक यादवले बताए। उनका अनुसार नगरपालिकाको भवन मन्दिरको जमिनमा बनाउन खोजेपछि विवाद बढेको हो । आर्थिक वर्षको अन्त्य हुनै लागेको र यो समयमा विकासको काम धमाधम गर्नुपर्नेमा नगरपालिकाको कार्यालयमा तालाबन्दी भएपछि विकास निर्माणको काम ठप्प भएको छ।
चैत १५ गते प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यौपाने सरुवा भएपछि चैत २२ गते उपसचिव ध्रुवराज आर्चायलाई हरिपुर्वा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मन्त्रालयमा पठाएको भए पनि उनी आएनन्।
त्यसपछि शाखा अधिकृत शम्भुप्रसाद यादवलाई वैशाख १४ गते प्रमुख प्रशासकीय अधिकृतमा पठाएर उहाँ वैशाख १७ गते हाजिर भएको एक घण्टामै सरुवा हुनुभयो । त्यसयता रिक्त रहेको सो पदमा वैशाख २४ गते सरकारले निमेष मिश्रलाई सरुवा गर्यो तर उनी विवादका कारण आएनन् । नगरपालिकामा तालाबन्दी जारी रहेको र हाजिर हुने अवस्था नभएकाले नआएको मिश्रले बताए।
त्यसपछि जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयको समन्वयमा नगरपालिकाको तालाबन्दी खुलाउने प्रयास गरेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयले पटकपटक तालाबन्दी खुलाउने प्रयास गरेको भए पनि सहमति नजुट्दा नगरपालिकमा लागेको तालाबन्दी जारी रहेको छ।
ताला खोल्न आफूहरू तयार रहेको भए पनि नगर प्रमुख साहसहितका मानिसको अनावश्यक अडानका कारण त्यो असम्भव भएको सङ्र्घष समितका सदस्य योगनारायण रायले बताए। उनका अनुसार संघर्ष समितिले राखेका माग पूरा गर्ने लिखित प्रतिबद्धता गर्न नगर प्रमुख साह तयार नभएपछि सहमति नजुटेको हो।
यता, नगरप्रमुख साहले नगरको विकासका लागि आफू लागि परे पनि संघर्ष समितिले अवरोध गरेर काम गर्न नदिएको आरोप लगाउनुभयो । उहाँका अनुसार कर्मचारीको तलब र सामाजिक सुरक्षा भत्ताबाहेक अन्य कुनै पनि काम भएको छैन।रासस |
‘विकास गाउँ पुग्यो, मान्छे बजार झरे’ ढोरपाटन। काठेखोला गाउँपालिका-३ धम्जाकी ८५ वर्षीया चन्द्रकुमारी भण्डारीलाई हिजोआजा दिन बिताउन निकै गाह्रो भइरहेको छ। बूढेसकाल लागेपछि गाह्रो काम गर्न सक्दिनन् उनी। घरको सामान्य काम गरेर दिन बित्दैन।
दुःख, सुखका कुरा गर्ने वरपरका छरछिमेकीका घर सुनसान बन्दै गएका छन्। छिमेकी धमाधम बसाइँसराइ गरी बजार झर्न थालेपछि चन्द्रकुमारीले एक्लो महसुस गरी राखेकी छन्।
अब गाउँमा मान्छेनै नहुने चिन्ता भण्डारीलाई छ। एक दशक अगाडिसम्म गाउँबाट बसाइँसराइ गरेर बजार झर्नेको सङ्ख्या न्यून थियो तर अहिले दिनप्रति दिन गाउँ छोड्नेको सङ्ख्या बढ्दो छ।
उनका जवानीमा सँगसँगै मेलापात र घाँसदाउरा गरेका दौतरी अधिकांश गाउँ छोरेर बसाइँ सरेका छन्। पहिले गाउँमा विकास पुगेको थिएन, स्थानीय दुःख गरेर पनि गाउँमै बस्थे। अहिले गाउँ-गाउँमा टोल-टोलमा विकास पुगेको छ मान्छे छैनन्।
गाउँमा ढुंगा, माटो र काठले चिटिक्क बनेका घर रित्तिएर सुनसान बन्दै गएका छन्। खेतीयोग्य जमिन वनमाराले ढाकिन थालेका छन्। दशक अगाडिसम्म निकै रमाइलो थियो धम्जा गाउँ तर अहिले बसाइँसराइका कारण चहलपहल हराउन थालेको छ।
विसं २०६६ मा सडकले जोडिएको धम्जा गाउँमा अहिले विकासले गति लिदै गएको छ तर उपभोग गर्ने स्थानीय थप सेवा सुविधा खोज्दै गाउँ छोड्दै छन्।
पहिले गाउँमा एकै परिवारले सयौँ वस्तुभाउ पाल्ने खेती किसानी गर्ने गर्थे। सामान्य सेवा लिनका लागि दिनभरि लगाएर बजार धाउनुपर्ने अवस्था थियो तर अहिले त्यो अवस्था हटे पनि गाउँमा मान्छे बस्न छोड्दै छन्।
स्थानीय महत्वकांक्षी बन्दै गएपछि गाउँ रित्तिन थालेको चन्द्रकुमारी बताउँछिन्। उनले आफ्नो पालामा अहिलेको जस्तो यातायात, खानेपानी, विद्युत् र स्वास्थ्यको सहज पहुँच नभए पनि गाउँमा मान्छेको चाप बढी भएको भन्दै अहिले सुविधा भएर पनि बसाइँसराइ गरिरहेको बताइन्।
“उतिबेला अहिलेको जस्तो मोटर गाडी आउँदैनथे, बाटोनै बनेको थिएन, हामीहरु एक साता लगाएर थाकखोला पुगेर ढिके नुन बोकेर आँथ्यौँ, स्याङ्जा पुगेर चामल लिएर खान्थ्यौँ, चप्पल लगाउने चलन थिएन, खाली खुट्टा हिँड्थ्यौँ, अहिलेको जस्तो फेसन-फेसनका लुगा थिएनन् भोटो लगाउँथ्यौँ”, उनले भनिन्, “बिजुली पनि थिएन, दियालो, टुकी बालेर रात बिताउनुपथ्र्यो, अहिले यस्तो विकास होला भन्ने त सोचेका थिएनौँ, गाउँ पनि धेरै फेरिएको छ, गाउँमा विकास आएर के गर्ने, मान्छे सबै सहर बजारतिर झर्न थाले।”
स्थानीय ६२ वर्षीय नगेन्द्रबहादुर भण्डारीले रोगार र विदेश हुने अधिकांश युवाको परिवार सहर बजारमा सुविधा खोज्दै झरेको बताए। उनले पछिल्लो १० वर्षमा धम्जाबाट बसाइँसराइ गर्नेको सङ्ख्या बढ्दै गएको सुनाए।
चौध वर्ष अगाडि गाउँमा सडक नआउँदासम्म स्थानीय गाउँमै दुःख गरेर बसेको भन्दै गाउँमा विकास आउन थालेपछि बजार भर्न थालेको उनको भनाइ छ। स्थानीय विदेश जना थलेपछि उनीहरुमा महत्वकाक्षां बढी हुँदै गएपछि बसाइँसराइ गर्न थालेको भण्डारी बताउँछिन्।
उनी भन्छन्, “पहिले विदेश जाने सङ्ख्या कम थियो, धेरै गाउँमा खेतीपाती गर्ने, गाउँमै कामधन्दा गर्ने गर्थे, सरकारले विदेश जाने बाटो सहज बनाइ दिएपछि धेरै विदेश जान थाले, पैसा कमाउन थाले त्यसले गर्दा उनीहरुलाई गाउँभन्दा सहर बजार मन पर्न थाल्यो, त्यही भएर अहिले गाउँमा मान्छे कम हुँदै गएका छन्, विदेश हुने धेरैजसो युवाका परिवार अहिले बजारमा छन्, कतिपय आजभोलिनै बजार झर्दैछन्, खै किन यसरी मान्छेहरु गाउँ छोडी राखेका छन्?, मलाई पनि निकै आश्चार्य लागेको छ, विकास छैन भनौँ भने विकास पनि भएकै छ।”
सरकारले युवालाई विदेश पलायन हुनबाट रोक्न सके र गाउँमा स्वरोजगार सिर्जना गर्नसके मात्रै बसाइँसराइ रोकिने भण्डारीले बताए। गाउँमा स्वास्थ्य, शिक्षा, रोजगारको राम्रो व्यवस्था गर्नुपर्ने उनको भनाइ छ। बसाइँसराइका कारण यस वडामा रहेका विद्यालयमा विद्यार्थीको सङ्ख्या पनि दिनदिनै घट्दै गइरहेको छ।
काठेखोला गाउँपालिका-३ धम्जाका अध्यक्ष कुलबहादुर विकले बसाइँसराइका कारण जनशक्ति अभाव हुँदा विकास निर्माणमा समस्या हुने गरेको बताए। गाउँमा एकै पटक धेरै आयोजानका काम गर्नु परे उपभोक्ता समितिमा बस्ने मान्छे नहुने उनको भनाइ छ।
उनले जनसङ्ख्या बढी भएको ठाउँमा विकास पनि धेरै हुने र आयआर्जन पनि बढी हुने भन्दै यहाँ विकास र आयआर्जन पनि कम हुने गरेको बताए। धम्जाबाट सबैभन्दा बढी पोखरा, बागलुङ, बुटवल र चिवतनमा लगायतका सहरमा बसाइँसराइ गरेर जानेको सङ्ख्या ठूलो रहेको अध्यक्ष विकको भनाइ छ।
“मान्छेहरु अलिअलि पैसा कमाउन थाले भने बजारनै झर्ने गरेका छन्, बसाइँसराइ रोक्न स्थानीयलाई आयआर्जनसँग जोड्ने, पर्यटन प्रवद्र्धन गर्ने, उद्योगधन्दा सञ्चालन गर्ने, स्रोत साधानको पहिचान गरेर उपयोग गरी स्वरोजगार बनाउने कामतर्फ ध्यान दिएका छौँ”, अध्यक्ष विकले भने, “हामीहरुले गर्ने प्रयास गर्छौँ, हिजो स्वास्थ्य, शिक्षा, विद्युत्लगायतका विकासका पूर्वाधारले नजोडिँदा गाउँमा बस्ने अहिले सबै पुग्दा पनि बजार झर्ने गरेका छन्, बजारको जस्तो सेवा सुविधा गाउँमा नल्याएसम्म बसाइँसराइ रोक्न गाह्रो देखिन्छ।”
वडा कार्यालयको अनुसार चालु आर्थिक वर्षमा मात्रै धम्जा गाउँबाट १० परिवार बसाइँसराइ गरेर बाहिर गरेका छन्। वडामा दर्ता गराएका बाहेक अझै बढी बसाइँसराइ गरेर गाउँ छाड्नेको सङ्ख्या बढी रहेको स्थानीयको भनाइ छ।रासस |
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको उपकुलपतिका लागि दरखास्त आह्वान काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को उपकुलपतिका लागि दरखास्त आह्वान भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै सात दिनको समय दिएर दरखास्त आह्वान गरेको हो ।
यस्तै, उपकुलपति सिफारिसका लागि सर्च कमिटी गठन भएको छ । प्रधानमन्त्री एवं न्याम्सका कुलपति पुष्पकमल दाहाल प्रचण्डले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन, २०६३ दफा १८ को उपदफा ९२० बमोजिम सहकुलपति अध्यक्षतमा दुई सदस्यीय सर्च कमिटी गठन गरेका हुन् ।
उक्त कमिटीले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को उपकुलपति सिफारिस गर्ने छ । इच्छुक व्यक्तिले सात दिनभित्र मन्त्रालयमै वा इमेल ठेगाना [email protected] मा आवेदन दिन सक्नेछन् ।
निवेदनसँगै विस्तृत कार्ययोजना, अनुभव खुल्ने व्यक्तिगत विवरण, काउन्सिलको दर्ता तथा नविकरण प्रमाणपत्रको प्रमाणित प्रतिलिपी,शैक्षिक योग्यता प्रमाणपत्रको प्रमाणित प्रतिलिपी र नेपाली नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपी पेश गर्नुपर्ने छ । |
विकास र समृद्धिको ढोका खोल्छौँ : अध्यक्ष ओली गल्याङ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको पार्टीले विकास र समृद्धिको ढोका खोल्ने दाबी गरेका छन् । आँधीखोला गाउँपालिकाको नयाँ भवन उद्घाटन कार्यक्रममा आज उनले देशमा एमाले मात्र जनताको पक्षमा काम गर्ने पार्टी भएको दाबी गर्दै जनताका आवश्यकताका आधारमा कामको गतिलाई बढाउने बताए ।
एमाले सरकारमा हुँदा विकासले फड्को मारेको जिकीर गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले वर्तमान सरकारलाई एमालेले जस्तो लोकप्रिय काम गरेर देखाउन चुनौती दिए । उनले एमालेको सरकार हुँदा एकै दिन तीन सय ९६ योजनाको शिलन्यास गरेर नयाँ इतिहास रचेको दाबी गरे । अध्यक्ष ओलीले वर्तमान सरकारलाई एमालेको पालामा भएका विकास निर्माणसम्बन्धी आयोजनाका बजेट कटौती नगर्न आग्रह गरे ।
“सरकार जनजिवीकाका सवालमा गम्भीर भएर लाग्न आवश्यक छ”, उनले भने, “वर्तमान सरकारले एमालेको सुझाव मान्दैन भने पनि निराश हुनुपर्दैन एमालेले जनताको काम गर्छ ।” एमाले प्रतिपक्षमा मात्र नबस्ने बताउँदै अध्यक्ष ओलीले देश बनाउन आफ्नो पार्टी सरकारमा जाने र त्यसका लागि वातावरण बनाउने उल्लेख गरे । |
सुदूरपश्चिम प्रदेशसभा : नीति तथा कार्यक्रममाथि छलफल सुरु सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभामा आज प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम माथिको छलफल सुरु भएको छ ।
आजको बैठकमा छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्षी नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्रसिंह रावलले सरकारको आगामी आवको सिद्धान्त एवं प्राथमिकता र नीतिबीच अस्पष्टता र विरोधाभास रहेको बताए । उनले भने, “सरकारको प्राथमिकता के हो भन्ने कुरा नीति कार्यक्रममा स्पष्ट छैन, सैद्धान्तिक आधारविहीन र प्राथमिकता अस्पष्ट छ ।”
नेपाली कांग्रेसका प्रदेशसभा सदस्य मेघराज खड्काले नीति कार्यक्रममा थुप्रै विषय समेटिएको भन्दै प्रतिपक्षी बेञ्चमा बस्नेबाट सबै कुरा खराबैखराब देख्ने प्रवृत्तिको अन्त्य गरी सकारात्मक सोच राख्न पनि जरुरी रहेको बताए । नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता खगराज भट्टले नीति कार्यक्रम आधारभूत रुपमा स्वच्छ सुरुआत भएको भन्दै प्रशंसा र आलोचनाको चेतनाभन्दा समालोचनाको चेतनाले गरिने छलफल बहसले आउने निष्कर्ष पनि वैज्ञानिक र उन्नत हुने बताए ।
नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरीले प्रदेशको विकास गर्ने लक्ष्यसहित नीति तथा कार्यक्रम आएको बताए । नेकपा (एकीकृत समाजवादी) पार्टी संसदीय दलका नेता दीर्घबहादुर सोडारीले नीति कार्यक्रम ऐतिहासिक र महत्वपूर्ण रहेको भन्दै यसलाई वस्तुनिष्ट ढङ्गले बजेटमा व्यवस्थापन गर्नुपर्ने बर्ताए ।
राप्रपाकी खेमादेवी विष्टले सरकारको नीति तथा कार्यक्रममा थुप्रै कुरा समेटिएको भए पनि स्वास्थ्य र शिक्षाका बारेमा ठोस योजना नआएको बताइन् । स्वतन्त्र सदस्य ताराप्रसाद जोशीले यसअघिका सरकारले ल्याएको नीति तथा कार्यक्रम जस्तै यो नीति कार्यक्रम देखिएको भन्दै यसले कुनै नयाँ अवस्थाको खोजी गरिएको देखिएन भने ।
यसअघि बैठकको प्रारम्भमा मुख्यमन्त्री कमलबहादुर शाहले सरकारको आगामी आव २०८०/८१ को नीति कार्यक्रममाथि सभामा छलफल गरियोस् भनी प्रस्तुत गरेको प्रस्ताव बहुमतले स्वीकृत भएको थियो । |
गर्मी बढेपछि वीरेन्द्रनगरका सामुदायिक विद्यालय बन्द हुने सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा अत्यधिक गर्मी बढेसँगै विद्यालयमा बिदा दिन थालिएको छ । अत्यधिक गर्मी बडेपछि बुधबारदेखि निजी विद्यालय एक साताका लागि बन्द भएकोमा शुक्रबारदेखि सामुदायिक विद्यालय पनि असार १ गतेसम्म बन्द हुने भएका छन् ।
वीरेन्द्रनगर नगरपालिकाले शुक्रबार पत्राचार गर्दै असार १ गतेसम्मका लागि विद्यालय बन्द गर्न निर्देशन दिएको छ ।
अत्यधिक गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा समस्या सिर्जना हुनसक्ने प्रतिकुलतालाई मध्यनजर गर्दै विद्यालय बन्द गर्न निर्देशन दिइएको हो । साथै गर्मी बढेकाले विद्यार्थीको सिकाई अनुकूल नभएको नगरपालिकाले जनाएको छ । |
कञ्चनपुरमा उखुबारीभित्र महिलाको शव फेला धनगढी । कञ्चनपुरमा एक महिलाको शव फेला परेको छ ।
जिल्लाको बेलडाँडी गाउँपालिका वडा नम्बर ४ झिलमिला गड्डा टोलकी ४५ की दुर्गा थापाको शव फेला परेको हो । उनी बिहीवार दिउँसो घाँस काट्न भनेर घरबाट निस्किएकी थिइन् ।
राति अबेरसम्म घर नफर्किएपछि खोजतलास गर्दा उखुबारीमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता, डीएसपी प्रकाश डाँगीले बताए । उनले मृत्युको कारण नखुलेको बताए । |
गैँडाकोटका विद्यालय बिहान खोल्न निर्देशन नवलपुर । तराईमा अत्यधिक गर्मी बढेसँगै विद्यालय बन्द भइरहेको अवस्थामा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले विद्यालयलाई बिहानी सत्रमा सञ्चालन गर्न निर्देशन दिएको छ । नगर शिक्षा अधिकारी डा बालकृष्ण चापागाईंले गर्मीका कारण बन्द भएका विद्यालय बिहानी सत्रमा खोल्न सार्वजनिक सूचना जारी गरेका हुन् ।
“बर्खे बिदामा मिलान हुने गरी जेठ २१ देखि जेठ २६ गतेसम्म नगरभित्रका सबै विद्यालय बन्द गरिएको थियो”, उनले भने, “जेठ २८ गतेदेखि विकल्प खोज्दै बिहानी सत्रमा विद्यालय खोल्न नगरकार्यपालिकाबाट निर्देशन आएकाले सोहीअनुसार गर्न सूचना जारी गरिएको हो ।”
विद्यालयको भौतिक अवस्था हेरी दिवा सत्र वा बिहानी सत्रमा कक्षा सञ्चालन गर्न निर्देशन भएको उनले जानकारी दिए । दिवा सत्रको कक्षा सञ्चालन समय नियमानुसार तथा बिहानी सत्रको कक्षा सञ्चालनको समय विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार गर्न चापागाईंले आग्रह गरे ।
आइतबारदेखि बिहानी सत्रमा सञ्चालन गर्ने विद्यालयले पनि गर्मी कम भएपछि दिवा सत्रमा कक्षा सञ्चालन गर्नेगरी पठनपाठन गराउन उनले आग्रह गरेका थिए । जेठ २५ गते नवलपुरमा नेपालकै सबैभन्दा बढी तापक्रम मापन गरिएको थियो ।
जिल्लाको दुम्कौलीमा बुधबार ४३ दशमलव आठ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो । देवचुली नगरपालिकामा पर्ने दुम्कौली गैँडाकोट नगरपालिकासँगै जोडिएको छ । |
भारतले दिने मुर्रा राँगा नेपाल आइपुग्न दुई महिना लाग्ने ललितपुर। भारत सरकारले सहयोगस्वरुप दिने भनिएको १५ मुर्रा जातको राँगाबारे देशभर चर्चा छ। तर भारतबाट नेपाल आइपुग्न भने दुई महिना लाग्ने पशु सेवा विभागका सूचना अधिकारी चन्द्र ढकालको भनाइ छ।
नश्ल सुधारका लागि नेपाल ल्याउन लागिएको मुर्रा जातको राँगाको प्राविधिक टोली भारत गएर अध्ययन गरिसकेपछि मात्र ल्याइने छ। नेपाल ल्याएपछि राँगालाई पशु सेवा विभाग मातहतका राष्ट्रिय पशु प्रजनन कार्यालय (पोखरा, नेपालगञ्ज र लहान)मा व्यवस्थापन गरी वीर्य उत्पादन गरिनेछ।
सूचना अधिकारी ढकालका अनुसार मुर्रा राँगाका लागि विशेष प्रकारको गोठ र उनीहरूको शारीरिक बनावटको आधारमा दानापानी व्यवस्थापनका लागि पशु विज्ञ खटिने छन्।
ढकालले भने, “स्थानीयस्तरबाट आएको जानकारीअनुसार मुर्रा भैंसीको मूल्य रु २० देखि २२ लाखसम्म पर्छ। स्थानीय भैंसीले एक बेतमा एक हजार लिटर जति दूध दिन सक्छन् भने मुर्रा राँगाबाट नश्ल सुधार भए दूध उत्पादनमा तीन गुणाले बढाउन सकिन्छ।”
उन्नत नश्लका मुर्रा राँगाबाट वीर्य सङ्कलन गरी देशभरिका किसानका गोठमा पुर्याइ भैंसीमा कृत्रिम गर्भाधान गराई नश्ल सुधार गरिनेछ। भैंसीपालन पेसाबाट किसानपछि हट्दै गएको अवस्थामा आउने दिनमा भैंसीको नश्ल सुधारको कारण किसानलाई फाइदा पुग्ने विश्वास गरिएको छ। |
बागलुङ कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी गलकोट। जिल्ला कारागार बागलुङमा क्षमता दोब्बर कैदीबन्दी राखिएको छ। कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राख्दा विभिन्न समस्या निम्तिएका छन्।
कारागारको क्षमता ५० पुरुष र २५ महिला अटाउने रहेकामा हाल एक सय ६६ कैदीबन्दी राखिएको छ। कारागारमा हाल एक सय ५४ पुरुष कैदीबन्दी, १० महिला कैदीबन्दी र दुई नाबालिका रहेका छन्। कारागारमा ठाउँ अभावले महिलाभन्दा पुरुष कैदीबन्दीलाई बढी समस्या भएको जिल्ला कारागार बागलुङ कार्यालय प्रमुख डिलबहादुर केसीले जानकारी दिए।
“पुरुष कैदीबन्दीलाई सुत्न समस्या भएको छ”, उनले भने। उनीहरु ठाउँ अभावले कोचाकोच गरेर सुत्न बाध्य छन्। महिला कैदीबन्दीलाई भने हाल समस्या छैन। कारागारमा खानेपानीको समस्या समाधानका लागि खानेपानी आयोजना अघि बढाइएको केसीले बताए। तित्याङबाट यहाँ खानेपानी ल्याइँदै छ। यसका लागि रु २० लाख बजेट स्वीकृत भएको छ।
बागलुङ नगरपालिका–९ तित्याङस्थित रिठेखोलाको पानी बागलुङ कारागारमा ल्याउन सरसफाइ तथा खानेपानी डिभिजन कार्यालयले काम गरिरहेको छ। असार मसान्तभित्र कारागारमा मूलको पानी पुग्ने केसीले बताए। खानेपानी अभाव हुँदा कैदीबन्दीलाई सरसफाइ गर्न समस्या थियो। – रासस |
इच्छाकामना मन्दिर भक्तजनका लागि खुला मुग्लिन। चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित ऐतिहासिक धार्मिकस्थल इच्छाकामना माता माईको मन्दिर भक्तजनका लागि खुला गरिएको छ। मन्दिर पुनःनिर्माण सम्पन्न भएपछि भक्तजनका लागि खुला गरिएको हो।
मन्दिर बाहिर निर्माण गरिएको इच्छाकामना माताको प्रतिमामा पूजा गर्दै आएकामा बिहीबारदेखि मन्दिरभित्रैबाट पूजा गर्न खुला गरिएको छ।
विधिवतरूपमा पूजा गरी गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले बिहीबार मन्दिरको उद्घाटन गरेपछि सर्वसाधारण तथा भक्तजनका लागि नियमित पूजा गर्न खुला गरिएको इच्छाकामना सिद्धबाबा क्षेत्र संरक्षण समितिका अध्यक्ष रामप्रसाद बोहोराले जानकारी दिए।
बागमती प्रदेश, इच्छाकामना गाउँपालिका, स्थानीयको श्रमदान र चन्दादाताको सहयोगमा रु दुई करोड ४२ लाखको लागतमा मन्दिर पुनःनिर्माण सम्पन्न भएको बोहोराले बताए। कोरोना महामारी र काठको अभावका कारण मन्दिर पुनःनिर्माण ढिला गरी सम्पन्न भएको हो।
मन्दिरको २०७५ असार ७ गते शिलान्यास गरेर काम प्रारम्भ भएको थियो । ढुंगा र माटोले बनेको सो पुरानो मन्दिर जीर्ण बनेपछि जगबाटै भत्काएर पुनःनिर्माण गरिएको हो।
गाउँपालिका अध्यक्ष गुरुङले ऐतिहासिक महत्त्व रहेको इच्छाकामना मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्यको रूपमा विकास गरिने बताए। “आवश्यक पूर्वाधार निर्माण गरिने र प्रचार–प्रसारमा जोड दिइने छ”, उनले भने-“खानेपानीको व्यवस्थासमेत भइसकेको छ, बस्नका लागि होमस्टेको सुविधा छ, आवश्यक पूर्वाधार निर्माण गर्दै जान्छौँ, ऐतिहासिक महत्व बोकेको इच्छाकामना मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउने योजना छ।”
सुन्तलाको बगैँचाको अवलोकन गर्दै मन्दिरसम्म यात्रा गर्न सकिन्छ। साथै मन्दिर परिसर वरपर फागुन-चैतमा ढकमक्क फुल्ने लालीगुराँसले पर्यटकलाई लोभ्याउँछ। इच्छाकामनाको फिस्लिङ, मुग्लिन, कालिकाको शक्तिखोर, धादिङको बेनीघाट रोराङको हुग्दीखोला हुँदै इच्छाकामना मन्दिर सवारीसाधनमार्फत पुग्न सकिन्छ।
गोरखाको सहिद लखन गाउँपालिकाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरको आमनेसामने उत्तरमा पर्ने यस मन्दिरमा पूजाआजा गरे इच्छाएको पूरा हुने धार्मिक विश्वास छ।
मनकामना माईको सात दिदीबहिनीमध्ये एक बहिनी इच्छाकामना रहेकोे धार्मिक विश्वास रहेको मन्दिरका पुजारी हर्कबहादुर गुरुङले बताए। मन्दिरसम्म सडक पुगेसँगै भक्तजनको आवागमनमा वृद्धि भएको उनले बताए।
प्रत्येक वर्ष मङ्सिरको ठूलो एकादशीपछि पञ्चमी तिथिमा इच्छाकामनामा ठूलो मेला लाग्छ। इच्छाकामना मन्दिर समुद्री सतहदेखि एक हजार आठ सय मिटरको उचाइमा रहेको छ। रासस |
गेटा मेडिकल कलेज सञ्चालनको प्रारूपमै अलमल सुदूरपश्चिम । कैलालीको गेटामा निर्माणाधीन गेटा मेडिकल कलेज सञ्चालनको प्रारुपमै अलमल देखिँदा स्थानीयवासीमा चिन्ता र चासो बढेको छ ।
अलमलका बीच मेडिकल कलेजलाई विश्व विद्यालयको प्रारूपमा नै सञ्चालन गर्नुपर्ने मागसहित स्थानीयवासीले सङ्घर्ष गरिरहेका छन् । सङ्घर्ष समितिको आह्वानमा आज गेटा क्षेत्रमा रहेको अत्तरिया बजार बन्द गर्नुका साथै मेडिकल कलेजको भवनमा ‘सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय’ लेखिएको साइन बोर्ड टाँगेका छन् । सङ्घर्ष समितिको अगुवाइमा सरकारलाई ज्ञापनपत्र दिनुका साथै जनसमर्थन जुटाउन लगातार प्रदर्शन, घेराउ र सार्वजनिक बहस कार्यक्रम भइरहेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गत फागुनमा गेटा मेडिकल कलेजका भवन संरचनाको स्थलगत निरीक्षणका क्रममा मेडिकल कलेजलाई सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय मन्त्रिपरिषद्ले गरेको जानकारी गराएका थिए ।
सरकारले हालै संसद् समक्ष प्रस्तुत गरेको आर्थिक वर्ष २०८०÷८१ को बजेट कार्यक्रममा यो कलेजलाई एकसय शय्यासहित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन बजेट विनियोजन गरेको विषय समेटिएको छ । मेडिकल कलेजलाई कुन प्रारूपमा सञ्चालन गर्ने भन्ने बारेमा सरकारबाट नै आएका दुई फरक निर्णयबाट अन्योल सिर्जना भएको स्थानीयवासीको भनाइ छ ।
गोदावरी नगरपालिका–५ गेटा गाउँमा निर्माणाधीन यो मेडिकल कलेजका संरचना निर्माणको काम लगभग पूरा हुने चरणमा छ । सरकारको प्राथमिकता प्राप्त यो कलेज निर्माणमा हालसम्मको रु पाँच अर्ब ४५ करोड खर्च भइसकेको छ । छ सय शय्याको निर्माण गर्ने लक्ष्यसहित विसं २०६६ मा यो कलेजको संरचना निर्माण सुरु भएको थियो ।
मेडिकल विश्वविद्यालय स्थापनाको पहल गर्न गठित सङ्घर्ष समितिका संयोजक लोकराज पाण्डेय ‘आगो’ ले मेडिकल कलेजलाई विश्वविद्यालयको प्रारूपमा सञ्चालन गर्ने मन्त्रिपरिषद्को निर्णयबाट खुसी भएका जनता अहिले सरकारको नीति कार्यक्रममै यो कलेजलाई प्रतिष्ठानको प्रारूपमा सञ्चालन गर्ने विषय समेटिँदा निराश भएको बताए ।
उनले भने, “नीति कार्यक्रममा प्रतिष्ठान बनाउने विषयलाई सच्याएर विश्वविद्यालयको प्रारूपमा सञ्चालन गर्नुपर्ने जनताको माग छ ।” निर्माणको गुरुयोजनाबमोजिम कलेजका झण्डै ४२ संरचनामध्ये २८ भवन संरचना तयार भई निर्माण कम्पनीले हस्तान्तरण गरिसकेको छ । बाँकी संचना हस्तान्तरणको चरणमा छन् । आउने असारसम्म सबै संरचनाको निर्माण पूरा भइसक्ने जनाइएको छ ।
हाल खानेपानी, सडक पूर्वाधार जस्ता साना काम निर्माणाधीन रहेको कलेज पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक हेमराज पुजाराले बताए । विश्व विद्यालय सञ्चालन भएमा स्वास्थ्य क्षेत्रमा उच्चस्तरको जनशक्ति उत्पादनका साथै गुणस्तरीय स्वास्थ्योपचार सेवा प्राप्त हुने र सुदूरपश्चिमको समग्र क्षेत्रमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ ।
सेती प्रादेशिक अस्पताल धनगढीका पूर्वमेडिकल सुपरिटेन्डेन्ट डा गणेशबहादुर सिंहले भने, “तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले यो कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रारूपमा सञ्चालन गर्ने भनेर जानुभएको थियो, अहिले प्रधानमन्त्री प्रचण्डले स्वास्थ्य विज्ञान विश्वविद्यालयको प्रारूपमा सञ्चालन गर्ने भन्नुभएको छ ।”
उनका अनुसार देशका दुई शीर्ष नेताबाट मेडिकल कलेज सञ्चालनको प्रारूपका बारेमा आएको फरक धारणाले अन्योलता बढ्न स्वाभाविक हो । उनले थपे “सञ्चालनको प्रारूपका बारेमा संसद्बाट पारित भएपछि मात्र ढुक्क हुने अवस्था हुन्छ ।” सुदूरपश्चिम प्रदेशमा पहिलो पटक विसं २०५६ मा मेडिकल कलेज सञ्चालन गर्ने पहल सुरु भएको थियो ।
काँचीकामा कोठी पीठका जगत्गुरु शङ्कराचार्यको संरक्षकत्व र लगानीमा विसं २०५६ मा यसै ठाउँमा स्वास्थ्य आयु विज्ञान प्रतिष्ठान बनाउने पहल गरिएको थियो । कलेज निर्माणका लागि जगत्गुरु शङ्कराचार्यबाट भवन शिलान्यास भएको थियो । तर विविध कारणले थप काम अघि बढ्न सकेन ।
त्यसपछि सरकारले यसै ठाउँमा विसं २०६८ मा मेडिकल कलेज बनाउने निर्णय गरेको हो । झन्झटिलो र लामो प्रक्रियाका कारण कलेजका संरचना निर्माण कार्य ढिलो सुरु भएको थियो । रासस |
गण्डकी प्रदेशको नीति तथा कार्यक्रम पारित पोखरा । गण्डकी प्रदेश सरकारले ल्याएको आउँदो आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रदेशसभाको बहुमतले पारित भएको छ । प्रदेशसभाको बिहीबारको बैठकमा सभामुख कृष्णप्रसाद धितालले निर्णयार्थ प्रस्तुत गरेपछि प्रदेशसभाको बहुमत सङ्ख्याले नीति तथा कार्यक्रम पारित गरेको हो ।
प्रदेश प्रमुख पृथ्वीमान गुरुङले यही जेठ २१ गते प्रदेशसभासमक्ष पेस गर्नुभएको सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि तीन दिनसम्म छलफल गरिएको थियो । नीति तथा कार्यक्रम पारित हुनुअघि छलफलका क्रममा प्रदेशसभा सदस्यहरूबाट उठेका प्रश्नको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जवाफ दिएका थिए ।
सो क्रममा उनले गण्डकी प्रदेशलाई आत्मनिर्भर र समन्नुत बनाउने अभियानमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूबीच सहकार्य हुने विश्वास व्यक्त गरे । प्रदेशको प्रथम पञ्चवर्षीय योजनालाई आधार मानेर नीति तथा कार्यक्रम ल्याएको उनले बताए ।
मुख्यमन्त्री पाण्डेले अघिल्ला सरकारले ल्याएका राम्रा कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धतासमेत जनाए । उनले वर्तमान सरकारका लक्ष्य र प्राथमिकता स्पष्टरूपमा नीति तथा कार्यक्रममा झल्केको बताए ।
नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सत्तापक्षका सदस्यहरूले सरकारको नीति तथा कार्यक्रम उत्कृष्ट रहेको धारणा राखे । उनीहरुले नीति तथा कार्यक्रमले समन्नुत गण्डकी प्रदेशको खाका कोरेको बताएका थिए ।
विपक्षी दलका सदस्यहरूले नीति तथा कार्यक्रम महत्वकाङ्क्षी रहेको भन्दै कार्यान्वयन हुनेमा आशङ्का व्यक्त गरेका थिए । स्रोत पहिचान नगरी अमूर्त ढङ्गले नीति तथा कार्यक्रम ल्याइएको उनीहरूको टिप्पणी थियो । नीति तथा कार्यक्रममाथिको छलफलमा ५० जना प्रदेशसभा सदस्यले भाग लिएका थिए ।
शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकता दिइएको नीति तथा कार्यक्रममा गाँजा खेतीदेखि सुरुङमार्गको सम्भाव्यता अध्ययनसम्मका लक्ष्य समेटिएको छ । ‘समृद्ध गण्डकी’को लक्ष्य प्राप्तिका लागि पर्यटन, ऊर्जा, कृषि, उद्योग, भौतिक पूर्वाधार, मानव संशाधन र सुशासनलाई जोड दिइएको छ ।
सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित सङ्घीयतालाई सुदृढीकरण गरी संस्थागत गर्न नीति तथा कार्यक्रम सहयोगी सिद्ध हुने सरकारले जनाएको छ । नीति तथा कार्यक्रम पारित भएसँगै सरकार बजेट निर्माणको अन्तिम तयारीमा जुटेको छ । संवैधानिक व्यवस्थाअनुसार आउँदो असार १ गते प्रदेश सरकारको बजेट सार्वजनिक हुनेछ ।रासस |
केयुका एक हजार दुई सय ४० विद्यार्थी दीक्षित हुँदै काठमाडौँ । काठमाडौँ विश्वविद्यालयमा अध्ययनरत विभिन्न सङ्कायका एक हजार दुई सय ४० विद्यार्थी दीक्षित हुने भएका छन् । विश्वविद्यालयले आज पत्रकार सम्मेलन गरी जेठ २८ गते आइतबार दोस्रो चरणमा हुन लागेको २८औँ दीक्षान्त समारोहमा विद्यार्थी दीक्षित हुने जनाएको हो ।
काभ्रेपलाञ्चोकको धुलिखेलमा रहेको काठमाडौँ विश्वविद्यालय परिसरमा प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा मुम्बइका अटलास स्किलटेक विश्वविद्यालयका उपकुलपति प्रोफेसर राजन वीलुकरको प्रमुख आतिथ्यतामा दीक्षान्त समारोह हुने भएको विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापाले बताए ।
दीक्षान्त समारोहमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति अशोककुमार राई र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीसमेतको सहभागिता रहने उनले बताए । यसपटकको समारोहमा काठमाडौँ विश्वविद्यालयबाट स्कुल अफ आर्टस्, एजुकेसन, इञ्जीनियरिङ, ल, म्यानेजमेन्ट, मेडिकल साइन्सेज र साइन्स विधाका पिएचडी नौ जना, एमफिल ४१, स्नातकोत्तर तहका ९८ र स्नातक तहका एक हजार ९२ सहित एक हजार दुई सय ४० विद्यार्थी दीक्षित हुने जनाएको छ । जसमध्ये आर्टस्का ३५, एजुकेसनका ५७, इञ्जीनियरिङका तीन सय ६५, ल का एक, म्यानेजमेन्टका ५०, मेडिकल साइन्सेजका पाँच सय ६५ र साइन्सका एक सय ६७ जना रहने छन् ।
दीक्षित हुने विद्यार्थीमध्ये पुरुषको सङ्ख्याभन्दा महिलाको सङ्ख्या बढी रहने छ । पुरुषको प्रतिशत ४९ दशमलव ३५ (छ सय १२) र महिलाको प्रतिशत ५० दशमलव ६५ (छ सय २८) जना रहने छ । दीक्षित हुनेमध्ये वेनिन, भारत, श्रीलङ्का र संयुक्त राज्य अमेरिका गरी चार देशका ७३ जना अर्थात् ५ दशमलव ८९ प्रतिशत रहेका विदेशी विद्यार्थी रहनेछन् ।
काठमाडौँ विश्वविद्यालयको इतिहासमा पहिलोपटक स्कुल अफ इञ्जीनियरिङअन्तर्गत ब्याचलर अफ आर्किटेक्चरमा २९ जनालाई उपाधि प्रदान गरिने भएको छ । अठ्ठाइसौँ दीक्षान्त समारोहको दोस्रो चरणको कार्यक्रमसम्ममा गरी काठमाडौँ विश्वविद्यालयबाट ४१ हजार दुई सय ७५ विद्यार्थी उत्तीर्ण भएका छन् ।
विश्वविद्यालयले यसपटक स्कुल अफ एजुकेशनबाट स्नातकोत्तर तहमा मास्टर अफ एजुकेशन इन म्याथमेटिक्स एजुकेशनमा सबैभन्दा बढी सिजीपीए चार प्राप्त गरेका सिद्धार्थ रजकलाई चान्सलर स्वर्ण पदक, स्कुल अफ एजुकेशनबाट नै स्नताक तहमा व्याचलर अफ एजुकेशन इन चाइनिज ल्याङ्वेज टिचिङमा सबैभन्दा बढी सिजीपीए तीन दशमलव ८९ प्राप्त गर्नुभएका सञ्चिता केसीलाई भाइस चान्सलर स्वर्ण पदक, स्कुल अफ म्यानेजमेन्टको एमबिए तहमा सबैभन्दा बढी सिजीपीए तीन दशमलव ९७ प्राप्त गर्नुभएका प्रश्ना भट्टराईलाई जुद्धबहादुर श्रेष्ठ स्वर्ण पदक र स्कुल अफ म्यानेजमेन्टबाट नै एमबिए तहमा सिजीपीए तीन दशमलव ८५ प्राप्त गरी सर्वोत्कृष्ट हुनुभएका आयुष्मा पोखरेलाई रणबहादुर शाह स्वर्ण पदक प्रदान गर्ने भएको विश्वविद्यालयका प्रवक्ता उद्धव प्याकुरेलले बताए । रासस |
दक्षिण एसियाली योग खेलकुद प्रतियोगिता सुरु काठमाडौं । नेपाल योग खेलकुद सङ्घको आयोजनामा तेस्रो दक्षिण एसियाली योग खेलकुद प्रतियोगिता र माउन्ट एभरेष्ट योग फेस्टिभल च्याम्पियनसीप आजदेखि सुरु भएको छ । उक्त प्रतियोगिता नेपाल–भारतमैत्री धर्मशाला तिलगङ्गामा आजदेखि सुरु भएको हो ।
आज एक कार्यक्रमका बीच उक्त प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले उद्घाटन गरे । उक्त प्रतियोगिता यही जेठ २७ गतेसम्म सञ्चालन हुने नेपाल योग खेलकुद सङ्घ भक्तपुरका उपाध्यक्ष चन्द्रमणि ढुङ्गानाले जानकारी दिए । उनका अनुसार उक्त योग खेलकुद प्रतियोगितामा नेपाल, भारत र बङ्लादेश गरी तीन देशका खेलाडी सहभागी भएका छन् ।
सो प्रतियोगितामा सात राष्ट्रका खेलाडीले सहभागिता जनाउने भनिए पनि विभिन्न कारणले अन्य देशका खेलाडी सहभागी हुन नसकेको आयोजकले जनाएको छ । उक्त स्पर्धामा नेपालबाट महिला र पुरुष गरी ३६ खेलाडीको सहभागिता रहेको जनाइएको छ । प्रतियोगितामा विभिन्न उमेर समूहमा प्रतिस्पर्धा हुने बताइएको छ । जसअनुसार आठदेखि ११ वर्ष, १२ देखि १५ वर्ष, १६ देखि १८ वर्ष, १९ देखि २५ वर्ष, २६ देखि ३५ वर्ष र ३५ वर्षदेखि माथिका उमेर समूहमा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
यसैगरी माउन्ट एभरेष्ट योग फेस्टिभल पनि यही जेठ २६ र २७ गते हुने भएको छ । यस प्रतियोगितामा सार्क राष्ट्रसहित इरान र साउदी अरेबियाका खेलाडीले प्रतिस्पर्धा गर्ने उपाध्यक्ष ढुङ्गानाले बताए । उक्त प्रतियोगितामा करिब तीन सय खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् भने नेपालबाट महिला र पुरुष गरी ४२ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
विसं २०७३ मा राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा दर्ता भएको उक्त सङ्घले २०७४ सालमा प्रथम दक्षिण एसियाली खेलकुद र २०७६ सालमा दोस्रो दक्षिण एसियाली योग खेलकुद प्रतियोगिता सञ्चालन गरेको जनाइएको छ । |
नयाँ बसपार्कबाट सञ्चालन हुन थाले माइक्रोबस काठमाडौँ । काठमाडौँबाट देशका विभिन्न जिल्लामा चल्ने लामो तथा मध्यम दूरीका माईक्रोबस नयाँबसपार्क भित्रबाट सञ्चालन हुन थालेका छन् । काठमाडौँ महानगरपालिकाले यही जेठ १९ गते एक सूचना जारी गरी काठमाडौँ उपत्यकाबाहिर चल्ने सम्पूर्ण सवारी साधनलाई गोँगबुस्थित नयाँ बसपार्कभित्रबाट मात्र सञ्चालन गर्ने निर्णय गरेसँगै केही माईक्रोबस भने नयाँ बसपार्कभित्रबाट सञ्चालन हुन थालेका हुन् ।
यसअघि नयाँ बसपार्कबाट ठूला सार्वजनिक सवारी साधनमात्र सञ्चालन हुँदै आएका थिए । महानगरपालिकाले जारी गरेको सूचनामा जभाभावी पार्किङ गर्ने, टिकट बुकिङ गर्ने काउन्टर यथावत राख्ने, सडकमा जथाभावी यात्रु चढाउने तथा ओराल्ने गतिविधिले यातायात व्यवस्थापन प्रणालीमा अवरोध पुगेको उल्लेख गरिएको छ ।
काठमाडौँ महानगरपालिकाले आगामी असार १ गतेदेखि नयाँ बसपार्क बाहिर रहेका टिकट काउन्टर हटाउनसमेत आग्रह गरेको छ । नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउदेश्यीय प्रालिले माईक्रोबसका लागि लोत्से मल पछाडि छुट्टै टिकट काउण्टर निर्माण गरिदिएसँगै काठमाडौँबाट नारायणगढ, भैरहवा, सुनौली, लुम्बिनी, तौलिहवा, पोखरा, स्याङ्जा, वालिङ, गल्याङ, बाग्लुङ, बेनी, बुर्तिवाङ, कुश्मा, चापाकोटलगायत स्थानमा जाने माईक्रोबस नयाँ बसपार्कभित्रबाट सञ्चालन हुन थालेका हुन् ।
लोत्से बहुउदेश्यीय प्रालिका मानव संशोधन प्रमुख पङ्कज मल्लले नयाँ बसपार्कभित्र सञ्चालन हुने माईक्रोबसका लागि छुट्टै टिकट काउन्टर निर्माण गरेको बताए । यसअघि काठमाडौँबाट चितवन, नवलपरासी, भैरहवा जाने माईक्रोबस कलङ्कीको मुख्य सडकबाट गुड्दै आएका थिए ।
यस्तै, पृथ्वी राजमार्गअन्तर्गत पोखरा, लमजुङ, बागलुङ, म्याग्दीलगायतका क्षेत्रमा चल्ने माईक्रोबस गोङ्गबुदेखि नयाँ बसपार्क बीचको मुख्य सडक छेउ, धादिङ, रसुवा नुवाकोट जाने सवारीसाधन माछापोखरी र गोरखा चल्ने माईक्रोबस बालाजु क्षेत्रबाट सञ्चालन हुँदै आएका थिए । काठमाडौँ उपत्यकाभित्र प्रवेश गर्ने सार्वजनिक सवारी साधनलाई व्यवस्थित तथा पार्किङ गर्नका लागि काठमाडौँ महानगरपालिकाले विसं २०५६ मा ल्होत्से बहुउद्देश्यीय प्रालिसँग सम्झौता गरी नयाँबसपार्क सञ्चालनमा ल्याए पनि कतिपय सार्वजनिक बस भने अहिलेपनि चक्रपथको मुख्य सडकलाई बसपार्क बनाएर सञ्चालन हुँदै आएका छन् ।
काठमाडौँ महानगरपालिकाका यातायात विज्ञ जगतमान श्रेष्ठले चक्रपथ विस्तारको काम सुरु भएपछि सडकको वरिपरिबाट अव्यवस्थित रुपमा सञ्चालन हुँदै आएका सवारीसाधनलाई नयाँबसपार्कभित्रबाट सञ्चालन गर्नेगरी काठमाडौँ महानगरपालिकाले काम गरिरहेको बताए ।“काठमाडौँ महानगरपालिकाले लामो तथा छोटो दूरीका सार्वजनिक सवारीसाधन पार्किङका लागि नयाँबसपार्कमा एक सय ६१ रोपनी जग्गा उपलब्ध गराएको छ, सबै सवारीसाधन बसपार्कभित्रबाट सञ्चालन गर्नुपर्छ भनेर महानगरपालिकाले काम गरिरहेको छ”, उनले भने । गोँगबुस्थित नयाँ बसपार्कमा हाल ८०० सवारीसाधन अटाउने क्षमता रहेको छ ।
महानगरपालिकाका यातायात विज्ञ श्रेष्ठले नयाँ बसपार्कभित्र काठमाडौँ भित्रिने सवारीसाधन नअटाए त्यसको विकल्प खोजिने बताए । काठमाडौँको चक्रपथ वरपर मुख्य सडकमा टिकट काउन्टर र जथाभावी बस पार्किङ गर्दा उपत्यकाको ट्राफिक व्यवस्थापनमा समेत समस्या हुने गरेको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार लामो दूरीका सवारीसाधन चक्रपथको बाटो भएर ओहोरदोहोर गर्दा ट्राफिक व्यवस्थापनमा असहज हुने गरेको हो । कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले लामो दूरीका सवारीसाधन चक्रपथ वरपर सडकमा पार्किङ गर्दा उपत्यकाको ट्राफिक व्यवस्थापनमा समस्या हुने गरेको बताए । पछिल्लो समय मुलुकको सङ्घीय राजधानी काठमाडौँलगायत देशभर निजी तथा सार्वजनिक सवारी साधनको सङ्ख्या वृद्धि हुँदा र बाटो साँघुरो हुँदा ट्राफिक व्यवस्थापनमा चुनौती थपिँदै गएको छ । रासस |
गर्मीले सुर्खेतका नीजि विद्यालय जेठ ३० सम्म बन्द सुर्खेत । गर्मीका कारण सुर्खेतका निजी विद्यालयहरू जेठ ३० गतेसम्म बन्द हुने भएका छन् । अत्यधिक गर्मी हुन थालेपछि निजी विद्यालयहरूले एक हप्ताको लागि पठनपाठन बन्द गरेका हुन ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को सुर्खेत जिल्लाभरीका विद्यालयलाई एक साताका लागि गर्मी बिदा दिन पत्राचार गरे पछि जिल्लाका निजी बिद्यालयहरु बन्द भएका हुन । गत जेठ जेठ २४ बन्द हुन सुरु भएका विद्यालयमा कम्तिमा पनि ३० सम्म पठनपाठन हुने छैन ।
अत्यधिक गर्मीका कारण बालबालिका बेहोस हुन थालेको तथा लुको खतरा बढेकाले स्वास्थ्यमा थप समस्या सिर्जना हुनसक्ने जोखिम बढेको भन्दै बिद्यालय बन्द गरिएका हुन । |
हवाई टिकट बिक्रीमा ह्याकरको अनाधिकृत प्रवेश काठमाडौं । केही समयदेखि नेपालका विभिन्न हवाई टिकट बिक्री वितरण गर्ने कम्पनीलाई लक्ष्य गरी ह्याकरहरुले विदेशी टिकट इस्यु गरेको पाइएपछि नेपाल प्रहरीको साइबर ब्यूरोले अनुसन्धान थालेको छ ।
उनीहरूले फिसिङको माध्यमबाट लगइन नेम र पासवर्डमा अनाधिकृत पहुँच पुर्याएर विदेशी टिकट इस्यु गरेको उजुरी परेपछि साइबर ब्यूरोले अनुसन्धान थालेको हो ।
टिकेटिङ प्रणाली ह्याक गरी अनाधिकृत रुपमा टिकट काटिएका संस्थाबाट उजुरी परेकाले छानबिन थालिएको ब्यूरोका उपनिर्देशक प्रहरी उपरीक्षक पशुपतिकुमार रायले जानकारी दिए । उनका अनुसार अहिले उक्त विषयमा सुक्ष्म अनुसन्धान भइरहेको छ ।
उपनिर्देशक रायले तीनवटा संस्थाले त्यसरी ब्यूरोमा उजुरी दिएको उल्लेख गर्दै ब्यूरोले त्यस्ता घटनामा सचेत हुन सेवाप्रदायक कम्पनी तथा आम नागरिकलाई पनि अनुरोध गरेको छ । कस्मो नेपाल ट्राभल्सलगायत तीन संस्थाका युजर नेमबाट लाखौँको टिकट काटिएको सार्वजनिक भएको थियो । रासस |
जुम्ली किसानलाई मार्सी धान रोपाइँको चटारो, शेरा खेतमा रोपाइँ सम्पन्न जुम्ला। यहाँका किसानलाई यो याममा मार्सीधान रोपाइँको चटारो छ । किसानहरु बिहानदेखि रातिसम्म खेतमै व्यस्त हुन थालेका छन् ।
जेठको पहिलो सातादेखि असारको दोस्रो सातासम्म जिल्लाभर धान रोपाइँ हुने गरेको गुठिचौर गाउँपालिका स्थानीयवासी राज्यलक्ष्मी देवकोटाले जानकारी दिइन्।
पछिल्लो समय मार्सी धानको चामलले बजार पाउन थालेपछि किसान मार्सी धान रोपाइँप्रति आकर्षित हुन थालेका छन् । जुम्लामा उत्पादन हुने मार्सी चामलको माग देशभर बढिरहेकाले पनि यसको खेति बर्सेनि बढेको कृषि विकास कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख गणेश अधिकारीले बताए।
जिल्लाका सात गाउँपालिका, एक नगरपालिकाको सिञ्जा चन्दननाथ क्षेत्र, तातोपानी, देपालगाउँ, गज्र्याङकोट र विश्वकै उच्च स्थानमा धान फल्ने पातारासी गाउँपालिकाको छुमचौरमा काली र रातो मार्सी धाने रोपाइँ धमाधम भइरहेको छ ।
जिल्लामा दुई हजार आठ सय ५० हेक्टरमा धानखेती हुन्छ । सोमध्ये एक हजार दुई सय हेक्टरमा मार्सी धानको खेती हुने गरेको प्रमुख अधिकारीको भनाइ छ । गतवर्षको असोजमा आएको बाढीपहिरोका कारण सिञ्जा गाउँपालिकाका ४२ वटा धान रोपाइँ गर्ने कुलोमा क्षति पुगेको थियो ।
गाउँपालिकाको लगानी र स्थानीयको श्रमदानमा २८ वटा कुलो पुनःनिर्माण भई सञ्चालनमा आएपछि सिञ्जाका अधिकांश क्षेत्रमा धान रोपाइँ सुरु भएको सिञ्जा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मित्रलाल धितालले जानकारी दिए।
जिल्लाको प्रसिद्ध धार्मिकस्थल चन्दननाथ भैरवनाथ मन्दिरको शेरा खेतमा कालीमार्सी धान रोपाइँ सम्पन्न गरिएको छ । परम्परागतरुपमा रोपिँदै आएको मार्सी धान उक्त शेरा खेतमा बुधबार रोपिएको हो ।
चन्दनाथ बाबाले भारतको काश्मिरबाट ल्याएर खेती सुरु गरिएको मार्सी धानलाई मन्दिरको शेरा खेतमा रोपाइँ गरेको चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समितिका अध्यक्ष अमरबहादुर थापाले बताए।
हरेक वर्षको जेठ १४ गते रोपाइँ हुँदै आएकोमा सो खेतमा योेवर्ष बीउको अभावले रोपाइँ ढिलो भएको हो ।
गुठी व्यवस्थापन समितिका अध्यक्ष थापाले भने, “चन्दननाथ बाबाको शेरा जिउँलो परापूर्वकालदेखि नै मन्दिरमा अक्षता चढाउनका लागि मार्सी धान रोप्ने गरिन्छ ।” जिउलोमा रोप्दै गर्दा मागल गाउने, पञ्चेबाजा बजाउने गरेको अध्यक्ष थापाको भनाइ छ ।
जुम्लाको धार्मिक इतिहाससँग जोडिएको शेरा जिउलोमा मार्सी धान रोपाइँ गर्दा अहिले विस्तारै मागल गाउने, पञ्चेबाजा बजाउने क्रियाकलाप हराउन थालेको यहाँका स्थानीयले गुनासो गर्न थालेका छन् ।
परम्परागत रुपमा रोपाइँ हुँदै आएको शेरा खेतमा यो वर्ष २२ भारी खेतमा रोपाइँ गरिएको छ । तातोपानी गाउँपालिकाको लिताकोट, लाम्रा, हाँकु र चन्दनाथ नगरपालिका -८ र ९ बाट बीउ ल्याएर रोपाइँ गरिएको चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समितिले जनाएको छ ।
मन्दिरको शेरा खेतमा रोपाइँका लागि स्थानीय, चन्दननाथ माध्यमिक विद्यालयका विद्यार्थीलगायत नागरिक अगुवाको उपस्थिति थियो । समुद्री सतहदेखि दुई हजार आठ सय ५० मिटरको उचाइ रहेको छुमचौर जिउलोमा उत्पादन हुने मार्सी धान खेतीलाई संरक्षण गर्नेका लागि प्रदेश सरकारले प्रथामिकतामा राखेर काम गर्नपर्ने गाउँपालिका अध्यक्ष पुन्नसिंह बोहोराको भनाइ छ ।
मार्सी धान संरक्षण गर्नेका लागि गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेटमा आवश्यक रकम बिनियोजन गरिने गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले जनाकारी दिइन्। सङ्घीय सरकारले आगामी आवको बजेटमा जुम्ली मार्सी धानको ब्राण्डिङ गर्ने उल्लेख गरेको छ।रासस |
दिक्तेल रुपाकोट मझुवागढी नगरले गर्यो नेता ठेकेदारको बचाउ नगर्न देउवा र ओलीलाई पत्राचार खोटाङ। खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दुई नेता ठेकेदारलाई कारबाही गर्न कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली गुहारेका छन् । गाईघाट–दिक्तेल सगरमाथा राजमार्ग अन्तरगत खोटाङको महुरे–फोक्सिङटार (४९ किलोमिटर) सडक खण्ड कालोपत्रेको ठेक्का लिएर अलपत्र पार्ने कांग्रेस सम्वद्ध ठेकेदार दीपेन्द्र शाही र एमाले सम्वद्ध ठेकेदार मदन अधिकारीलाई कारबाही गर्न शीर्ष नेतालाई गुहारिएको हो ।
शाही र अधिकारी मालिक रहेको निर्माण कम्पनी सहितको जेभीले खोटाङ र उदयपुर जोड्ने महुरे–फोक्सिङटार सडकको दुई खण्डको कालोपत्रेको काम अलपत्र पारेकाले कारबाहीका लागि सम्वन्धित दलका शिर्ष नेतालाई पत्र पठाइएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले बताए ।
महुरे–फोक्सिङटार सडकको महुरे–सिमपानी (राजापानी) २२ किलोमिटर खण्ड कालोपत्रेको ठेक्का भारत कन्ट्रक्सनरसिद्धीशाही जेभीले लिएको छ । शाही सिद्धिसाहीका मालिक हुन् । यस्तै, फोक्सिङटार–सिमपानी (२७ किलोमिटर) सडक कालोपत्रेको ठेक्का देवनारायण पवनरमैनाचुलीरखाम्पाचे जेभीले लिएको छ । मैनाचुलीका मालिक अधिकारी हुन् । कांग्रेस डोल्पाका सभापति रहेका शाही र २०७९ मा प्रदेश सांसदमा पराजित भएका थिए ।
झापा निवारी अधिकारी एमाले नेता हुन् । ‘ठेक्का लिने अनि राजिनीतिक शक्ति केन्द्रको आडमा वर्षौंसम्म काम अलपत्र पारेर राज्य दोहन गर्ने प्रवृत्ति हावी भएको देखिन्छ,’ मेयर भट्टराईले भने, ‘प्रतिष्ठित व्यक्तिबाट यस्तो निन्दनीय र घृणित कार्य हुन्छ भन्ने नगरपालिकाले कल्पना समेत गरेको थिएन तर खोटाङ्गे जनताको भावनामाथि प्रहार गर्ने गैर–जिम्मेवार व्यक्तिलाई पार्टीले च्यापिरहनु दुर्भाग्यपूर्ण छ ।’
नगरपालिकाले १५ दिनभित्र सम्वन्धित नेता ठेकेदार आ–आफ्नो निर्माणस्थलमा नफर्किए देउवा र ओलीको घरदेखि पार्टी कार्यालयमा धर्ना दिने उल्लेख गरेको छ । नगरले नेता ठेकेदारको बचाउन नगर्न र कारबाहीको दायरामा ल्याउन सहयोग गर्न भन्दै ओलीलाई जेठ २४ गते र देउवालाई जेठ १८ गते पत्र पठाएको हो । |
पाँच दिन तातो हावा यथावत् काठमाडाैं। देशका तराईका भू-भागमा आगामी केही दिनसम्म तातो हावा तथा लू लाग्न सक्ने सम्भावना रहेकाले यसबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
तातो दिन तथा लूसम्बन्धी विशेष बुलेटिन निकालेर महाशाखाले तराईका धेरैजसो क्षेत्रमा अधिकतम र न्यूनतम तापक्रम बढेकाले अबका पाँच दिनसम्म आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको हो।
“हालको तल्लो र उपल्लो वायुमण्डलको अध्ययन र विश्लेषणअनुसार नेपालमा यस वर्षको मनसुनको आगमन हुन अझै केही दिन लाग्ने देखिन्छ। तसर्थ, देशका तराई भू-भागमा आगामी पाँच दिनसम्म तातो हावा तथा लूको सम्भावन यथावत् रहने देखिएकोले सोबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध छ”, बुलेटिनमा उल्लेख छ।
साथै पहाडी भू-भागका उपत्यका तथा खोचमा समेत तापक्रम क्रमिकरुपमा बढ्न सक्ने सम्भावना रहेकाले महाशाखाबाट जारी सूचना तथा पूर्वानुमानमा अद्ययावधिक रहन पनि अनुरोध गरिएको छ।
महाशाखाका मौसमविद् गोविन्दकुमार झाले अबका तीन दिनसम्म लू चल्ने सम्भावना रहेको बताए। “विगत दुई दिनदेखि तराईका अधिकांश भू-भागमा लू चलिरहेको छ।
समग्रमा तराईको मध्य क्षेत्र सप्तरीदेखि भैरहवा क्षेत्रमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस नाघेर तातो हावा तथा लू चलेको छ। नेपालगञ्जलगायत क्षेत्रमा अधिकतम तापक्रम ४० डिग्री हाराहारी छ जसले गर्मी बढेको छ”, उनले भने।
लगातार पाँच दिनसम्म सामान्यभन्दा ४० डिग्रीभन्दा माथि तापक्रम बढेमा लू चलेको मानिन्छ। वर्षा नहुँदा सुक्खापन चलेकाले तापक्रम बढेर लू चलेको मौसमविद् झाको भनाइ छ।
साथै पहाडी भू-भागका उपत्यका तथा खोचमा समेत तापक्रम क्रमिकरुपमा बढ्न सक्ने सम्भावना रहेकाले महाशाखाद्वारा जारी सूचना तथा पूर्वानुमानमा अध्यावधिक रहन पनि महाशाखाले अनुरोध गरेको छ।
महाशाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक प्रभाव छ। देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहेको छ।
दिउँसो कोशी प्रदेशलगायत गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङगसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ।
विगत दुई सातादेखि देशका अधिकांश भू-भागको अधिकतम तथा न्यूनतम तापक्रम वृद्धि भइरहेको महाशाखाले जनाएको छ। काठमाडौं उपत्यकालगायत देशका अन्य उपत्यकामा समेत तापक्रममा क्रमिक वृद्धि भइरहेको छ। तराई भू-भागमा, मुख्यतया मध्य तराई र आसपासमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन भएको छ।
तातो हावा तथा लूबाट हुने सम्भावित असरजस्तैः थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, माँसपेशी दुख्ने, बान्ता आदि हुनसक्ने देखिएकाले सोबाट बच्न आग्रह गरिएको छ।
तातो हावा तथा लूबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने (घाममा हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा दाउको छोप्ने, टोपी लगाउने, नियमित पानी तथा झोल पदार्थ जुस सर्वत आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या आएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही सल्लाह सुझाव लिन पनि महाशाखाले सुझाएको छ।
आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १७ दशमलव ५ डिग्री र अधिकतम तापक्रम ३२ डिग्री सेल्सियस रहेको छ। रासस |
सुर्खेतमा पाँच जनामा दादुरा, जेठ २८ गतेदेखि खोप अभियान सुर्खेत। सुर्खेतमा पाँच जनामा दादुरा देखा परेको छ। पैसठ्ठी शंकास्पद बिरामीको चेकजाँच गर्दा उनीहरुमा दादुरा भेटिएको हो।
वीरेन्द्रनगर र चिंगान दुई/दुई तथा गुर्भाकोटका एक जनामा दादुरा भेटिएको स्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख गणेशभक्त गौतमले जानकारी दिए। उनका अनुसार कालीकोटमा पनि तीन जनामा दादुरा देखिएको छ।
यही जेठ २८ गतेदेखि सुर्खेतका नौवटै पालिकामा दादुराविरुद्धको खोप अभियान सुरु गरिने भएको छ। दुई चरणमा सञ्चालन हुने उक्त खोप अभियन आगामी असार ५ गतेसम्म सञ्चालन गरिने छ।
पहिलो चरणमा बराहाताल, चिंगान, भेरीगंगा र लेकबेँसी तथा दोस्रो चरणमा वीरेन्द्रनगर चौकुने, सिम्ता, पञ्चपुरी र गुर्भाकोटमा खोप अभियान सञ्चालन गरिने गौतमले बताए।
यसैबीच, दादुरा रुबेल खोप अभियान सञ्चालनसम्बन्धी जिल्ला खोप समन्वय समिति, सञ्चारकर्मी र सरोकारवालाको अभिमुखीकरण गरिएको छ। कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख गंगाराम सुनारले वडाले प्रभावकारी भूमिका खेल्नुपर्ने बताए। अभियानलाई सफल बनाउन सरकारको धेरै लगानी भएको उल्लेख गर्दै उनले गुणस्तरीय र प्रभावकारी समन्वय आवश्यक पर्ने बताए।
कर्णाली प्रदेश स्वास्थ सेवा कार्यक्रमका निर्देशक डा रविन खड्काले खोप अभियानलाई प्रभावकारी बनाउन स्थानीय तह र प्रचारप्रसारमा विशेष ध्यान दिनुपर्ने बताए। खोप लगाउनका लागि हरेक खोप केन्द्रमा दुई स्वास्थ्यकर्मी र दुई स्वयंसेवक खटाइने छ।
खोप अभियानका लागि जिल्लाका ९९ वडामा कूल पाँच सय ४७ खोप केन्द्रको व्यवस्था गरिएको छ। खोप केन्द्र विद्यालयमा राखिने छ। दादुराविरुद्धको खोप १५ वर्षमुनिका बालबालिकालाई दिइने छ। यसअघि सुर्खेतलाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको थियो। सन् २०२३ सम्म दादुरामक्त नेपाल घोषणा गर्ने भनिएकामा सङ्क्रमण फैलिएपछि सन् २०२६ सम्म सो लक्ष्य राखिएको छ। – रासस |
मधेशका महिला कथाकारका लागि ‘टेल योर स्टोरी’ काठमाडौँ। मधेश प्रदेशका महिला कथाकारहरूलाई छोटो–फिल्मको पटकथा लेखनमार्फत प्रोत्साहित गर्ने उद्देश्यका साथ ‘टेल योर स्टोरी– (मधेश च्याप्टर)’ कार्यशाला सुरु भएको छ।
बुधबारबाट राजधानीमा सुरु कार्यशालाले पुरुषप्रधान फिल्म क्षेत्रमा मधेशका महिलाहरूलाई आफ्नो कथा आफैँ भन्ने अवसरको सिर्जना गर्ने लक्ष्य राखेको छ। कार्यशालाको उद्देश्य महिला सशक्तिकरण तथा सिर्जनात्मक विविधताको समावेशिता रहेको छ।
दुई चरणमा भैरहेको यस कार्यशालाको पहिलो चरण जेठ १६ देखि जेठ २० सम्म सन्चालन भएको थियो, जसअन्तर्गत राखिएको ५ दिने भर्चुअल कक्षामा निवेदनमार्फत छानिएका १७ प्रशिक्षार्थी सहभागी भएका थिए।
ती मध्येबाट ९ प्रशिक्षार्थीलाई दोस्रो चरणको कार्यशालाका लागि चयन गरिएको हो। जेठ २४ देखि जेठ २९ सम्म सन्चालन हुने दोस्रो चरणको कार्यशालामा प्रशिक्षार्थीहरूलाई नेपालका ख्यातिप्राप्त फिल्मकर्मी तथा कथाकारले कथालेखनका विषयमा सल्लाह तथा मार्गदर्शन प्रदान गर्नेछन्।
मधेशका महिलाका जीवन र अनुभव, साहस र अठोटका कथा प्राय ओझेलमै रहन पुगेका छन् र विरलै फिल्मको पर्दामा उत्रिने मौका पाउँछन्। तसर्थ, पटकथा लेखनका आधारभूत ज्ञान प्रदान गरेर तिनै अनुभवलाई मधेशकै सम्भावना बोकेका महिला कथाकारको आवाजमा छोटो फिल्मको पटकथाको रूप दिनु नै ‘टेल योर स्टोरी’ कार्यशालाको प्रमुख लक्ष्य रहेको छ।
फिल्म इन्डिपेन्डेन्ट अन्तर्गतको ग्लोबल मिडिया मेकर्सको सहयोग, तथा नेपालस्थित अमेरिकी राजदुतावास तथा शिक्षा फाउन्डेसन् नेपालको सहकार्यमा सन्चालित ‘टेल योर स्टोरी–(मधेश च्याप्टर)’ कार्यशाला महिला कथाकारहरूलाई आफ्ना जीवनुभव पटकथाका रूपमा उतार्नका लागि आवश्यक प्राविधिक ज्ञान प्रदान गर्नमा दत्तचित्त लागेको छ।
कार्यशालाको अन्त्यमा तीन छोटा पटकथा छानिनेछन्, जसलाई मधेशकै फिल्मकर्मीहरूबाट फिल्मका रूपमा विकास गरिनेछ। कार्यशालामा आरतीकुमारी मण्डल, कविता खड्का, किरण शाह, पुनम रौनियार, प्रतिभा झा, पुजा यादव, पुष्पा यादव, रेनुका जिसी र सुष्मा शर्मा सहभागी छन्। उनीहरुलाई शिवानी सिंह थारु, सरिता शाह, सम्पदा मल्ल, नविन सुब्बा, मुना गुरुङ, दीपक रौनियार, आन्विका गिरी र अविनाश विक्रम शाहले प्रशिक्षण दिइरहेका छन्। |
जिसस स्याङ्जाको गाडी दुर्घटना चालकको मृत्यु, अन्य तीनजना घाइते स्याङ्जा। जिल्ला समन्वय समिति स्याङ्जाको स्कारपियो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका-३ खोले भन्ने स्थानमा दुर्घटना हुँदा सवारी चालक स्याङ्जाको वालिङ-४ एलादीका ३५ वर्षीय अमृत खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी रवीन्द्र खनालले जानकारी दिए।
स्याङ्जाको सिरुवारीबाट स्याङ्जा सदरमुकामतर्फ फर्कंदै गरेको बा१झ ५८७८ नम्बरको गाडीमा सवार अन्य तीन जना घाइते भएका छन्।
दुर्घटनामा परी जिल्ला समन्वय अधिकारी राजेन्द्र पौडेल, विद्युत् कार्यालय स्याङ्जाका सुपरभाइजर टीकाराम पौडेल र अम्बिका पौडेल घाइते भएका छन्। गाडी सडकबाट तल खसेर दुर्घटना भएको हो। दुर्घटनाका बारेमा थप अनुसन्धान भइरहेको सूचना अधिकारी खनालले बताए। रासस |
उपयोगविहीन ३३ बिघा ऐलानी जग्गामा तरकारी खेती गर्ने वीरगन्ज महानगरको तयारी वीरगन्ज। वीरगन्ज महानगरपालिकाले वडा नं ३१ लक्ष्मीपुरस्थित उपयोगविहीन ३३ बिघा ऐलानी जग्गामा सामूहिक तरकारी खेती गर्ने तयारी गरेको छ।
महानगरबाट खटिएको जनप्रतिनिधि र कर्मचारीसहितको टोलीले लक्ष्मीपुरमा उपयोगविहीन रहेको ३३ बिघा चार कठ्ठा १० धुर ऐलानी जग्गामा सामूहिक तरकारी खेतीका लागि छुट्याएको छ।
तरकारीबाली पकेट विकास कार्यक्रमअन्तर्गत उक्त जग्गा स्थानीयस्तरमा कृषि समूह गठन गरी तरकारी खेतीका लागि जिम्मा लगाइने महानगरपालिकाको कृषि शाखाका प्रमुख कृषि अधिकृत रोशनी यादवले जानकारी दिइन्।
बेरोजगार रहेका स्थानीयलाई कृषि कर्ममा आकर्षित गरी आत्मनिर्भर बनाउन र किसानहरूको आयआर्जन बढाउने उद्देश्यले उपयोगविहीन खेतीयोग्य ऐलानी जग्गामा सामूहिक तरकारी खेती गर्ने तयारी गरेको वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताए।
तरकारी खेतीका लागि जग्गा छुट्याउन गएको टोलीमा महानगरको भौतिक संरचना नियन्त्रण समितिका संयोजक प्रदीप चौरसिया, महानगरप्रमुख सिंहको सचिवालय सल्लाहकार हरि पोखरेल, महानगरको आर्थिक विकास महाशाखाका अधिकृत प्रतिज्ञा वैद्य, नगर प्रहरी प्रमुख हरि भुुसाल, अमिन देवलाल साहलगायतको सहभागिता थियो।
किसान महासङ्घको प्रदेश अध्यक्षमा चौधरी
नेकपा (एमाले) निकट अखिल नेपाल किसान महासङ्घ मधेस प्रदेशको वीरगन्जमा सम्पन्न प्रदेश अधिवेशनले निरञ्ज चौधरीको अध्यक्षतमा ५१ सदस्यीय प्रदेश समिति चयन गरेको छ।
समितिको उपाध्यक्षद्वयमा आशिकीकुमारी गिरी र पुरनदेव चौधरी, सचिवमा रामप्रसाद घिमिरे, उपसचिवद्वयमा रामेश्वर साह र अञ्जना पन्त, कोषाध्यक्षमा सुलेखा अग्रवाललाई चयन गरेको छ।
यस्तै समितिको सदस्यमा जयप्रकाश गुप्ता, बचनलेव पञ्जियार, ओमप्रकाश साह कानुलगायतलाई चयन गरेको महासङ्घका केन्द्रीय अध्यक्ष प्रेमकुमार दङ्गालले जानकारी दिए। अधिवेशनको एक कार्यक्रमका बीच एमालेका सचिव रघुवीर महासेठले गरेका थिए। |
सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ) धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम बुधबार सभामा पेश गरेको छ।
प्रदेश प्रमुख देवराज जोशीले अपरान्ह ४ बजे प्रदेशको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरेका हुन्। |
ठगीको आरोपमा मेडिसिटी अस्पतालका तीन पूर्वकर्मचारी पक्राउ काठमाडौं । नेपाल मेडिसिटी अस्पताल नख्खु ललितपुरको ‘बिलिङ सेक्सन’मा काम गरेका तीन पूर्वकर्मचारीले अस्पतालबाट करोडौँ रकम ठगी गरेको पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार बिरामीबाट लिएको शुल्कबाट अस्पतालमा दाखिला गर्नुपर्ने भन्दा कम रकम देखाएर ठगी गरेको पाइएको ललितपुरका प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए ।
उनका अनुसार उनीहरुले बिरामीबाट लाग्ने शुल्क लिएर सफ्टवेयरको दुरुपयोग गरी कम शुल्क प्रविष्ट गरी ठगी गरेका हुन् । यसरी ठगी गरेको आरोप पक्राउ पर्नेमा दोलखाको भीमेश्वर नगरपालिका– ४ घर भई भक्तपुरको ठिमी बस्ने वर्ष ३४ का राघव सापकोटा, ललितपुरको गोदावरी नगरपालिका– ११ चापागाउँ बस्ने वर्ष २९ का सनम देशार र काठमाडौँको बालुवाटार बस्ने ३४ वर्षे आशीष अर्याल छन् ।
उनीहरुविरुद्ध आपराधिक लाभ तथा आपाराधिक विश्वासघातसम्बन्धी कसूरमा ललितपुर जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको कार्कीले जानकारी दिए ।उनीहरुलाई आजै सार्वजनिक पनि गरिएको छ ।
ती कर्मचारीले अस्पतालमा प्रयोग हुँदै आएको सफ्टवेयरको दुरुपयोग गरी बिरामीबाट शैय्या शुल्क, डाक्टर शुल्क र नर्सिङ शुल्कसमेतको वास्तविक शुल्क लिई निजहरुबाट लिएको शुल्कभन्दा कम शुल्क देखाए रु दुई करोड ६३ लाख ५५ हजार ठगी गरेको आरोप लागेको ललितपुर प्रहरीको भनाइ छ । |
बजेटको प्रभावकारी कार्यान्वयनमा शङ्का छ : सांसद काठमाडौं । विगतका वर्ष जस्तै आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा शङ्का रहेको धारणा सांसदहरुले राखेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा ‘आगामी आर्थिक वर्ष २०८०र८१ को राजस्व र व्ययको वार्षिक अनुमान’माथिको छलफलमा भाग लिनुहुने सांसदहरुले बजेटमाथि मिश्रित प्रतिक्रिया दिँदै प्रभावकारी कार्यान्वयनमा ठूलो शङ्का रहेको धारणा राखे ।
सांसद उदय शमशेर जबराले बजेटका व्यवस्था कार्यान्वयनमा ल्याउन सकिन्छ कि सकिदैन भन्नेमा शङ्का रहेको बताए । “सबै बजेट राम्रा हुन्छन् । तर त्यसको कार्यान्वयन कति हुन्छ भन्ने प्रश्न हो । कार्यान्वयनका लागि अर्थ मन्त्रालय मात्र होइन सङ्घ, प्रदेश र स्थानीय तह सबै उत्तिकै जिम्मेवार छन्”, उनले भने ।
आगामी आर्थिक वर्षको बजेट राजस्व उठाउन बढी केन्द्रित देखिएको भन्दै उनले राजस्व बढाउनका लागि लगानी पनि बढाउन आवश्यक रहेको धारणा राखे ।
बजेटमा राखिएका महत्वपूर्ण विषय कार्यान्वयनमा शङ्का रहेको धारणा सांसद असिम शाहले संसद्मा राखे । सार्वजनिक सेवा प्रवाहमा प्रशासनिक झन्झट र बिचौलियाको अन्त्य गर्ने गरी सरकारले काम गर्नुपर्ने सुझाव उनले दिए ।
नेपालको श्रमशक्ति नेपालभित्रै प्रयोग गरेर लाभ लिन सक्नुपर्नेमा विदेश पठाएर रेमिट्यान्स बढी भित्र्याउनेतर्फ सरकारको नीति तथा कार्यक्रम र बजेट केन्द्रित रहेको सांसद शाहले आरोप लगाए । बजेटले चलचित्र क्षेत्रका लागि कुनै ठोस् कार्यक्रम ल्याउन नसकेको पनि उनको टिप्पणी छ ।
सांसद योगेन्द्र मण्डलले बजेटमा सही योजना र कार्यक्रम राख्नका लागि सही नियतले काम गर्न आवश्यक रहेको बताए । उनले सुशासन र पारदर्शीतामा विगतदेखि नै सरकार चुक्दै गएको भन्दै बजेटलाई जनतासम्म पु¥याउन सेवा प्रवाहलाई चुस्त बनाउनुपर्नेमा जोड दिए ।
सांसद वीरबहादुर बलायरले विगतको तुलनामा आगामी आर्थिक वर्षको बजेट निकै नै फरक रुपमा आएको दाबी गरे । मुलुकको आर्थिक सामथ्र्य बुझेर खर्च कटौतीलाई प्राथमिकतामा राखेको उनले बताए । ठूला र माथिल्लो तहका निकायबाटै खर्च कटौती गर्दै जानुपर्ने सांसद बलायरको भनाइ छ । जिल्ला निर्वाचन कार्यालय खारेज गर्न नहुने सुझाव पनि उनले दिए ।
सांसद गोकुलप्रसाद बाँस्कोटाले सरकारको आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त तथा प्राथमिकता, नीति तथा कार्यक्रम र विनियोजनबीच तादम्यता नरहेको बताए ।
सांसद ज्ञानु बस्नेत सुवेदीले वर्तमान आर्थिक चुनौतीलाई सम्बोधन गर्ने गरी आगामी आर्थिक वर्षको बजेट आएको धारणा राखे । बजेटले विभिन्न १० वटा क्षेत्रलाई प्राथमिकताका साथ उठाएको र त्यसको कार्यान्वनयका लागि आवश्यक संयन्त्र परिचालन गर्ने विषय आएको उनको भनाइ छ ।
सांसद सुमना श्रेष्ठले आर्थिक विधेयक २०८० मार्फत् करका दर हेरफेर गर्दा दैनिक उपभोग्य सामग्रीको मूल्य वृद्धि हुने बताइन् । सांसद बीना जैसवालले सरकारले विभिन्न वस्तु तथा सेवामा दिँदै आएको मूल्य अभिवृद्धि कर छुट खारेज गर्दा त्यसको असर बजारमा देखिने बताइन् । उनले बजेटमा वैदेशिक लगानी प्रवद्र्धन, स्टार्टअप, उद्यमशीलता लगायतका केही सकारात्मक विषय समेटिएको भए पनि त्यसको कार्यान्वयनको प्रभावकारिता माथि प्रश्न गरिन् ।
बजेटमा राखिएको संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमले समानुपातिक सांसदलाई विभेद्मा पारेको उनको भनाइ छ । जलविद्युत् क्षेत्रको पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट ल्याउनु अहिलेको आवश्यकता रहेकोमा त्यसो हुन नसकेको सांसद अमरबहादुर थापाले बताए । त्यस्तै, करको दर घटबढभन्दा पनि दायरा विस्तारमा जोड दिनुपर्ने उनको भनाइ छ ।
“सरकारले तत्काल गर्नुपर्ने काम के हो पहिचान भएको छैन । वितरणमुखी कार्यक्रम बजेटमा राखिएका छन् । तर हामीले प्राथमिकतामा राख्नुपर्ने क्षेत्र र बजेट विनियोजनमा समानता देखिएको छैन”, उनले भने ।
सांसद लीलानाथ श्रेष्ठले अर्थतन्त्रको बिग्रँदो अवस्थालाई आगामी आवको बजेटले सुधार गर्न नसक्ने दाबी गरे । अर्थतन्त्र पुनरुत्थानको नीति बनाउनु अहिलेको आश्यकता रहेको उनको भनाइ छ । उनले मुलुकको श्रमशक्ति विदेश जानबाट रोक्ने र स्वदेशमै रोजगारी उपलब्ध गराउने गरी कुनै ठोस् योजना तथा कार्यक्रम आउन नसकेको टिप्पणी गरे । त्यस्तै, प्रदेश र स्थानीय तहको बजेट घटेकोप्रति पनि उनले चिन्ता व्यक्त गरे ।
सांसद रणेन्द्र बरालीले बजेट निरपेक्ष नहुने र देश, काल परिस्थितिअनुसार त्यो परिवर्तनशील हुने धारणा राख्नुभयो । बजेटले स्वदेशी वस्तुको उत्पादन वृद्धि तथा प्रवद्र्धन, उद्यमशीलता विकास, दक्ष श्रमशक्ति निर्माणलगायतका विषय समेट्नु सकारात्मक रहेको उनको भनाइ छ । दलितलगायत आर्थिक र सामाजिक रुपमा पछाडि परेका वर्गलाई बजेटले समेटेको पनि उनको भनाइ छ ।
सासद ध्रुवबहादुर प्रधानले राष्ट्रिय सुरक्षाका क्षेत्रमा सरकारले पर्याप्त बजेट छुट््याउन नसकेको बताए । राष्ट्रिय सुरक्षा र आर्थिक सुरक्षाबीच अनोन्याश्रित सम्बन्ध रहेपनि सरकारले त्यसलाई नदेखेझैँ गरेको उनको दाबी छ । सीमा सुरक्षा र चोरी पैठारी नियन्त्रणका लागि पर्याप्त बजेट नछुट्याइएको उनको भनाइ छ ।
बङ्गलादेशबाट नेपालमा आएका रोहिंग्या शरणार्थी र साइबर सुरक्षाका लागि पनि बजेटमा कुनै विषय नपरेको उनले बताए ।
सांसद राजेन्द्रकुमार केसीले प्रतिपक्षले विरोध गर्नकै लागि बजेटको आलोचना गरेको धारणा राखे । विरोधको संस्कारले मुलुकको समग्र हित हुन नसक्ने उनले बताए । त्यस्तै, चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि न्यून बजेट ल्याउनु भनेको वास्तविकताको आँकलन गरेर बजेट ल्याइएको उनको भनाइ छ ।
सार्वजनिक ऋण बढेको दायित्व बढ्दै गएकोप्रति उनले संसद्मा चिन्ता व्यक्त गरे । स्वदेशमा उत्पादित तरकारी, फलफूल र तरकारीलाई प्रवद्र्धन गर्नका लागि सरकारले भ्याट छुट खारेजीको निर्णय गरेको र त्यो सकारात्मक रहेको उनको भनाइ छ ।रासस |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.