content
stringlengths 20
64.1k
⌀ |
---|
काकाकुल वीरेन्द्रनगर, चुलियो खानेपानीको संकट सुर्खेत। “इनार खन्यो पानी आउँदैन। बोरिङ खन्ने पैसा छैन। दुई सातामा एक दिन मात्रै धारामा अलिकति पानी आउँछ। खानेपानीको हाहाकार छ। अरू स्रोत छैन। असारमा झनै समस्या हुन्छ। कसरी बाँच्ने हो ?”, वीरेन्द्रनगर–१ लालीगुराँस टोलकी दिलकुमारी विक र निक्की कुमालले एकै स्वरमा आफ्ना दुखेसो पोख्नुहुन्छ । विक र कुमालको दैनिकी खानेपानीको लाइनमै बित्छ।
बिहान छोराछोरीलाई स्कुल पठाएर पानी भर्न आउँदा एक गाग्री पानी भर्न दिउँसो ३ बजे पालो आउँछ। सोलिघोप्टे गैराबाट पाइपबाट ल्याएको सानो पानीमा एक गाग्री पानी भरिन आधा घण्टा लाग्छ। वीरेन्द्रनगर नगरपालिकाको झुप्रा खोलाबाट वितरण हुने खानेपानीको धारामा १० दिनसम्म पानी आउँदैन। प्रगतिशील टोल, आँपखोली टोल, लालीगुराँस टोल, एकता टोल, त्रिपुरेश्वर टोल, धारापानी टोल लगायतका ठाउँमा पानीको धेरै समस्या छ।
पानीका मुहानहरू खडेरीले सुक्दै जानु, अव्यवस्थित विकास र अन्य प्राकृतिक प्रकोपहरूका कारण पनि खानेपानीको समस्या सिर्जना भएको छ। सुर्खेत वीरेन्द्रनगर नगरपालिकाकी मनिषा थापा स्थानीय सरस्वती माविमा कक्षा ५ मा पढ्नुहुन्छ । विद्यालय समयमै पुग्न उहाँलाई सधैँ कठिन हुन्छ। कारण, खानेपानी समस्या। बिहान ५ बजे उठेर पानी लिन धारामा जाने उहाँलाई हातमुख धोएर एक जर्किन पानी भरेर घर आइपुग्दा नै १० बज्छ।
पानी अभावले सरसफाइ गर्न पनि समस्या हुन्छ। धारामा पनि विद्यालय जाने बालबालिका धेरै हुन्छन्। पालो पाउनै सधैँ सबैलाई मुस्किल पर्छ। मनिषा भन्छिन्, “कति दिन त पानी भर्ने पालो नपाएर रित्तै घर फर्केको छु। हातमुख नधोएरै स्कुल गएको छु ।” गर्मी मौसम सुरु भएसँगै धारामा साता दिनमा एकपटक पानी आउने गरेको उहाँको भनाइ छ। प्रगतिशील टोल, आँपखोली टोल, लालीगुराँस टोल, एकता टोल, त्रिपुरेश्वर टोल, धारापानी टोल लगायतका ठाउँमा पानीको धेरै समस्या छ।
वीरेन्द्रनगरका वडा नं १ देखि १२ सम्म खानेपानीको समस्या छ। खानेपानी सिँचाइ तथा ऊर्जा विकास निर्देशनालयका सूचना अधिकारी डोरप्रसाद उपाध्यायले वीरेन्द्रनगरको खानेपानीको समस्या समाधान भेरीको पानी पम्पिङ गरेर नल्याएसम्म समाधान गर्न सम्भव नरहेको बताए। उनले भने, “वीरेन्द्रनगरका साथै जिल्लाका अन्य पालिकामा पनि खानेपानीको समस्या छ। समस्या समाधानका लागि स्थानीय पालिकासँग समन्वय गरेर कामहरू भइरहेका छन्।”
भेरी पम्पिङमा काम नहुँदा बर्सेनि रकम फ्रिज भइरहेको छ। संघीय सरकारले अघिल्लो वर्ष रु दुई करोड र गत आर्थिक वर्ष रु छ करोड छुट्याएको थियो। गत वर्ष प्रदेश सरकारले छुट्याएको रु ५० करोड कामै नभई फिर्ता गएको थियो। गर्मी समय सुरु भएसँगै कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगरका नागरिकहरु अहिले खानेपानीको चरम अभावमा छन्। बजारवासीहरूले गाडीमा पिउने पानी ओसार्ने गरेका छन्।
वीरेन्द्रनगरमा खानेपानी वितरण गर्दै आइरहेको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले मागअनुसार मात्रामा पानी आपूर्ति गर्न सकिरहेको छैन। वीरेन्द्रनगर–९ मा धारामा १५–१६ दिनमा एक घण्टामात्र पानी आउने गरेको छ। कहिलेकाहीँ एक गाग्री पानी भर्न नपाउँदै पानी सुक्ने गरेको स्थानीयवासी विनोद गुरुङले बताए।
गाउँमा रहेको एउटा कुवाले एक–दुई टोललाई जेनतेन धानेको छ। वडाले खानेपानीको समस्या समाधान गर्न दुईवटा डिप बोरिङ खनेको थियो। ती बोरिङसमेत सञ्चालनमा आउन सकेका छैनन्। वडामा चुलिएको खानेपानीको समस्या समाधानका लागि पुराना कुवालाई मर्मत गर्ने, स–साना खानेपानीका मुहानको मर्मत गर्न थालिएको वडाध्यक्ष कृषि गिरीले बताए।
उनले भने, “अघिल्लो कार्यकालमा खनिएका डिप बोरिङ प्रयोगमा छैनन्। एउटा नयाँ बोरिङ सञ्चालनमा ल्याउँदैछौँ।” वीरेन्द्रनगरमा एक सय २० घण्टामा एक पटक पानी वितरण गर्ने सुर्खेत उपत्यका खानेपानी संस्थाको तालिका छ। उपभोक्ता भने तालिकाअनुसार पानी नआएको बताउँछन्।
जनसंख्याले वृद्धिले थप समस्या
प्रादेशिक केन्द्र बनेपछि वीरेन्द्रनगरमा दिनहुँ जनसंख्या बढ्दो क्रममा छ। अन्य जिल्लाबाट बसाइँ सरी आउने र नयाँ घर बन्ने क्रम झनै तीव्र रूपमा बढ्दो छ। सुर्खेत उपत्यका खानेपानी संस्थाका अनुसार संस्थाले २० हजारभन्दा बढी धारामा पानी दिने गरेको छ।
मागअनुसार खानेपानी पु¥याउन नसकिएको उनले बताए। मुहानमै पानी सुक्दै गएकाले पाँच दिनमा एक पटक खानेपानी वितरण भइरहेको उनको भनाइ छ। उनी भन्छन्, “छोटो समयमा उल्लेख्य रूपमा उपभोक्ताको सङ्ख्या बढेको छ । प्रदेशको राजधानी बनेपछि झन् जनसंख्या बढेको छ।”
वीरेन्द्रनगर उपत्यकामा हाल खरी खोला, बोरी खोला, झुप्रा, इत्राम खोला र खोर्के खोलाबाट एक सय ५७ लिटर प्रतिसेकेन्ड पानी ल्याइएको संस्थाका प्रमुख गौतमले जानकारी दिएका छन्। यी पानीका स्रोतको पनि अपुग भएपछि पाँच दिनमा एक दिन गरेर वितरण गरिँदै आएको छ।
सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका अनुसार यसअघि दुई लाख जनसङ्ख्या रहेको उपत्यकामा ३५ हजार घरधुरी थिए। उक्त जनसङ्ख्यालाई सहज खानेपानीको आपूर्ति गर्न करिब दुई सय ७८ लिटर प्रतिसेकेन्ड आवश्यक पर्दथ्यो।
संस्थाका अनुसार हाल प्रयोगमा ल्याइएका स्रोतहरूबाट एक सय २८ लिटर प्रतिसेकेन्ड पानीमात्र उपलब्ध हुने भएकाले पानीको अभाव भएको हो। हालसम्म २० हजार घरधुरीमा मात्रै खानेपानीको धारा जडान भएकामा यस वर्ष थप घरधुरीमा खानेपानीको लाइन वितरणपछि अझ पानी अभाव हुने देखिन्छ। अहिले प्रयोग भइरहेको पानी आवश्यक भन्दा ५४ प्रतिशतले कम हो।
विकल्प खोज्दै भेरी नदीतिर
वीरेन्द्रनगरमा खानेपानीको समस्या समाधान गर्नका लागि विकल्पको खोजी गरिएको छ। दीर्घकालीन रूपमा समस्या समाधान गर्न भेरी नदीको पानी पम्पिङ गरी ल्याउन विश्व बैंक, नेपाल सरकार र नगरपालिकाबीच भएको त्रिपक्षीय सम्झौताअनुसार यही असारसम्म बोलपत्र आह्वान गरिने नगरपालिकाले जनाएको छ।
आयोजनाको वातावरणीय प्रभाव मुल्यांकन (इआइए) सम्पन्न भइसकेको छ। दुई चरणमा सम्पन्न हुने आयोजनाका लागि पहिलो चरणअन्तर्गत रु चार अर्ब ६५ करोड ३० लाख ६६ हजार बराबरको बजेट सुनिश्चित भइसकेको छ।
आयोजना सुरु भएपछि भेरी नदीको पानी पम्पिङ गरी वितरण गरिने छ। यसले उपत्यकाको खानेपानी अभाव समाधान हुने अपेक्षा गरिएको छ। बर्सेनि भइरहने खानेपानी समस्यालाई समाधान गर्न भेरीको पानी ल्याउने सुरु भइसकेको खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजनाका उप–निर्देशक मधुसूधन खनालले बताए।
विसं २०७७ देखि आयोजनाका लागि बजेट विनियोजन हुँदै आएको हो। तीन दशकपछिको जनसङ्ख्यालाई मध्यनजर गरी वीरेन्द्रनगर उपत्यकाको खानेपानी समस्या समाधान गर्न ‘भेरी पम्पिङ’ आयोजना अघि बढाइएको छ। ६ वर्षमा सम्पन्न गर्ने लक्ष्य रहेको आयोजनाको पानी प्रशोधन केन्द्र लेकबेँसी नगरपालिकाको वन क्षेत्रमा राखिने जनाइएको छ।
वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख मोहनमाया ढकालका अनुसार खानेपानी सम्बन्धमा नगरपालिकाले ऐन मस्यौदा गरेको छ। आयोजना अगाडि बढाउन असार १० गतेभित्र खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना कार्यान्वयन ऐन २०८० स्थानीय राजपत्रमा प्रकाशित गर्नुपर्नेछ भने जग्गा प्राप्तिका लागि पनि सार्वजनिक सूचना प्रकाशन गरिसक्नुपर्नेछ।
आयोजनाको पहिलो चरणमा नदीबाट पानी पम्पिङ गर्ने, ट्यांकी बनाउनेदेखि पानी वितरणसम्मको काम हुनेछ। आयोजनाले भेरी नदीमा तयार गरिने इन्टेकबाट सात किलोमिटर दूरीमा पम्पिङ गरी वीरेन्द्रनगर नगरपालिका–११, अमृत डाँडामा पानी ल्याउने छ। पहिलो चरणमा भेरी नदीमा इन्टेक निर्माण, पानी प्रशोधन प्रणाली, भण्डारण ट्याङ्की निर्माण र अमृत डाँडादेखि वीरेन्द्रनगरसम्मको मुख्य पानी प्रसारण लाइन विस्तार गर्ने लक्ष्य छ।
दोस्रो चरणमा उपत्यकामा पर्ने रत्न राजमार्ग र सुर्खेत–जुम्ला सडकको दुवैतर्फ प्रसारण लाइन विस्तार गरिनेछ । भेरीको पानी चार सय मिटर उचाइमा प्रशोधन ट्यांकी (ट्रिटमेन्ट प्लान्ट) मा खसालिने छ। करिब सात किलोमिटर लामो पाइपका माध्यमबाट अमृत डाँडामा निर्माण गरिने भण्डारण ट्यांकीमा पानी खसालिने र पाँच सय ५० मिलिमिटर क्षमताको पाइप अमृत डाँडामा राखेर मुख्य ट्यांकीसम्म ल्याइने बताइएको छ। अमृत डाँडामा रहने ट्यांकी १२ हजार घनमिटरको हुनेछ। आयोजनाबाट वीरेन्द्रनगरको पाँच लाख जनसङ्ख्या लाभान्वित हुनेछन्। |
कञ्चनपुर लागूऔषधको अखडा : ११ महिनामा २५५ जना पक्राउ महेन्द्रनगर। कञ्चनपुरमा चालु आर्थिक वर्षको ११ महिनामा लागुऔषध कारोबार र दुर्व्यसनमा संलग्न १२ महिलासहित दुई सय ५५ जना पक्राउ परेका छन्।
पछिल्लो समय लागुऔषध कारोबारको उच्च जोखिममा रहेको कञ्चनपुरमा खुला सिमानाका कारण यहाँ दैनिक लागुऔषधसहित युवा–युवती पक्राउ परिरहेका छन्।
गत साउनदेखि जेठ मसान्तसम्म यहाँ २६ किलोग्राम चरेस, चार सय ९९ दशमलव ६६ ग्राम खैरो हिरोइन, ३६ ट्याबलेट नाइट्राभेट, तीन सय ५८ एम्पुल फेनारगनलगायत लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक भरतराज गिरीले जानकारी दिए।
यहाँ भारतसितको खुला सिमानाका कारण यहाँ लुकीछिपी लागुऔषधको कारोबार हुने गरेको छ। कञ्चनपुरमा स्थानीय प्रशासनलाई पनि लागुऔषध नियन्त्रण मुख्य चुनौती बनेको छ।
प्रहरी निरीक्षक गिरीका अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म पक्राउ पर्नेमा दुई २९ जना पुरुष, १२ महिला र १४ भारतीय नागरिक रहेका छन्। “जिल्लाभरि नै लागुऔषध नियन्त्रण र विद्यालयस्तरमा सचेतनाका कक्षा सञ्चालन भइरहेका छन्”, उनले भने, “लागुऔषध पूर्णरूपमा नियन्त्रणमा ल्याउन स्थानीय नागरिक, पालिका र सबैको सहयोग आवश्यक पर्छ।”
यहाँ भारतसित सीमा जोडिएको बेलौरी, पुर्नबास, बेल्डाँडी र दोधारा चाँदनी क्षेत्रबाट लागुऔषध ओसारपसार बढी हुने गरेको प्रहरीले जनाएको छ। महेन्द्रनगरस्थित धुम्रपान निधेषका अभियन्ता मदन चन्द बालबालिका र युवापुस्तालाई लागुऔषधको लतबाट बचाउन स्वयं अभिभावक जिम्मेवार भएर लाग्नुपर्ने बताउँछन्।
“प्रहरीले मात्रै नियन्त्रण गरेर लागुऔषध न्यूनीकरण गर्न कठिन हुनसक्छ”, उनले भने, “यसका लागि सामूहिक प्रयासको खाँचो छ।” – रासस |
पहिराले उत्तर–दक्षिण कोशी राजमार्ग अवरुद्ध किमाथांका। सङ्खुवासभामा अविरल वर्षासँगै आएको बाढी–पहिराले उत्तर–दक्षिण कोशी राजमार्ग अवरुद्ध भएको छ। लगातारको वर्षाले उत्तर–दक्षिण कोशी राजमार्गअन्तर्गतको खाँदबारी–किमाथांका सडकखण्ड अवरुद्ध भएको हो। वर्षासँगै आएको बाढी पहिराले मकालु र भोटखोला गाउँपालिका जोड्ने खाँदबारी –किमाथांका सडक ठप्प भएको हो।
गए राति वर्षासँगै आएको पहिराले उत्तर–दक्षिण कोशी राजमार्गअन्तर्गतको खाँदबारी–किमाथांका सडकखण्ड अवरुद्ध भएको उत्तर–दक्षिण कोशी सडक कार्यालयका प्रमुख सविन कोइरालाले जानकारी दिए। उत्तर–दक्षिण कोशी राजमार्ग अवरुद्ध भएपछि मकालु र भोटखोला गाउँपालिकामा यातायात सेवा ठप्प भएको छ।
मकालु गाउँपालिका–५ को मुढे र मकालु–३ मा पहिरो खसेको छ। मकालु गाउँपालिका–५ मा मुढे पहिरो हटाउन थालिएको सडक कार्यालयका प्रमुख कोइरालाले बताए। अहिले पनि त्यस क्षेत्रमा निरन्तर वर्षा पहिरो खसेका कारण हटाउन अझै केही दिन लाग्ने उत्तर–दक्षिण सडक कार्यालयका प्रमुख कोइरालाले बताए।
पहिरो खस्ने क्रम नरोकिएका कारण सडक कहिले खुल्छ भन्ने यकिन हुनसकेको छैन। सडक अवरुद्ध भएपछि मकालु र भोटखोला गाउँपालिकासँग सम्बन्ध टुटेको छ। पहिराका कारण सदरमुकाम खाँदबारीबाट मकालु र भोटखोला जाने दजनौँ सवारी बीचबाटैमा अपलत्र परेका छन्।
सत्र घरपरिवार विस्थापित
सङ्खुवासभामा बाढीपहिराका कारण हालसम्म १७ घरपरिवार विस्थापित भएका छन्। गत शनिबार राति अविरल वर्षसँगै आएको बाढीका कारण जिल्लाका विभिन्न स्थानका १७ घरपरिवार विस्थापित भएका हुन्। पाँचखपन नगरपालिका, चैनपुर नगरपालिका र सभापोखरी र मकालु गाउँपालिकामा १७ घर विस्थापित भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए।
बाढी पहिराका कारण ११ घर पूर्ण क्षति भएको छ। भने ६ घरमा आंशिक क्षति भएको प्रनाउ गोदारले बताए। बाढी–पहिराबाट विस्थापित छरछिमेकी र आफन्तको शरणमा बसेका छन्। बाढी–पहिराका कारण चैनपुर नगरपालिकामा आठ, पाँचखपन नगरपालिकामा चार, सभापोखरी गाउँपालिकामा चार र मकालु गाउँपालिकामा एक घरपरिवार विस्थापित भएको प्रनाउ गोदारले बताए।
गत शनिरबार राति अविरल वर्षसँगै आएको बाढीका कारण जिल्लाका विभिन्न स्थानका २० जना अझै बेपत्ता छन्। बाढीपहिराबाट बेपत्ता भएकाको खोजीकार्यमा वर्षाका कारण समस्या भएको छ। अहिले पनि त्यस क्षेत्रमा वर्षा भइरहेको छ। बाढीपहिराबाट २० जनामध्ये १६ जना सुपर हेवाखोला हाइड्रोपावरका, अपर हेवाखोला जलविद्युत् आयोजनाका एक जना, अमर कन्ट्रक्सनका एक जना र सभाखोपरी गाउँपालिकामा दुई जना बेपत्ता भएका छन्।
बाढीपहिराका कारण जिल्लाका आठवटा हाइड्रोपावरमा क्षति पुगेको छ। बाढीले दुईवटा पक्की पुल बगाएको छ भने एउटा पक्की पुलमा आंशिक क्षति पुगेको छ। चैनपुर नगरपालिका–४ र पाँचखपन नगरपालिका–९ मा गएको पहिराले खोला थुनिएपछि आएको बाढीले बगाउँदा ठूलो परिमाणमा भौतिक संरचनाको क्षति भएको हो। बाढी भौतिक संरचना बगाउँदा करोडौं रुपैयाँको क्षति भएको छ। – रासस |
सुदुरपश्चिम प्रदेशमा आज शोक बिदा धनगढी। सुदूरपश्चिम प्रदेशमा आज शोक बिदा दिइएको छ। सुदुरपश्चिम सरकारले आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधनमा शोक बिदा दिएको हो।
हिजो मंगलबार सवारी दुर्घटनामा निधन भएका मन्त्री सिंहको शोकमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक तथा कानुन मन्त्रालयका सुचना अधिकारीले जानकारी दिए।
उनका अनुसार मृतक सिंहको निधनमा आज सुदूरपश्चिम प्रदेशका सरकारी तथा सार्वजनिक निकायमा नेपालको राष्ट्रिय झन्डा आधा झुकाइने निर्णयसमेत भएको छ।
गृहजिल्ला बझाङ जाने क्रममा मन्त्री सवार सुप प्र ०१००१ झ ४८० नम्बरको गाडी बझाङको केदारस्युँ गाउँपालिकाको धारछडानजिकै दुर्घटना हुदाँ मन्त्री सिंहसहित उनको धर्मपत्नी, भाउजुलगायतको निधन भएको थियो।
सो दुर्घटनामा परी मन्त्री पत्नी अमृता सिंह र भाउजू जयादेवी सिंहको बझाङको स्थानीय देउरा प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको थियो भने गम्भीर घाइते मन्त्री सिंहको भने कोहलपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।
सुदूरपश्चिम सरकारले आज विहान ९ बजे धनगढीको कभर्ड हलमा मन्त्री सिंहको श्रद्धाञ्जली सभासमेत राखेको छ। |
पोखरा विमानस्थलमा आज पहिलो अन्तर्राष्ट्रिय बिमान अवतरण हुँदै पोखरा। व्यावसायिकरूपमा सञ्चालनमा आएको छ महिनापछि कास्कीको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलो अन्तर्राष्ट्रिय उडान हुँदैछ। चिनियाँ विमान कम्पनी सिचुआन एयरलाइन्सले पोखरामा सिधा चार्टर्ड उडान भर्न लागेको हो।
विमानस्थलका प्रमुख विक्रम गौतमका अनुसार चीनको छेन्दु-तियान्फु इन्टरनेशनल विमानस्थलबाट उडेको सिचुवान एयरलाइन्सको एयरबस ए-३१९ जहाज आज बिहान ९ः३० बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसहितले पहिलो अन्तर्राष्ट्रिय उडानबाट पोखरा ओर्लने यात्रुलाई स्वागत गर्ने कार्यक्रम रहेको छ।
पर्यटनमन्त्री किरातीले चीनबाट आउने चार्टर्ड उडानलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न पाउँदा उत्साहित भएको बताएका छन्। उनले पर्यटकले पोखराका सबै होटल खचाखच भएको सुन्न पाउँदा हर्षित भएको सामाजिक सञ्जालमा व्यक्त गरेका छन्।
उक्त जहाजबाट हाल चीन भ्रमणमा रहेका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहितको नेपाली टोली तथा आगामी शुक्रबार र शनिबार पोखरास्थित फेवातालमा हुनलागेको ‘नेपाल-चीन फ्रेन्डसीप ड्रागन बोट फेस्टिभल’मा सहभागी हुने चिनियाँ खेलाडी तथा पर्यटक गरी एक सय ३५ यात्रु पोखरा ओर्लने बताइएको छ। सिचुवान एयरलाइन्सको जहाज पोखरामा करिब एक घन्टा रोकिएर त्यसपछि मध्याह्न काठमाडौँ उड्ने गरी उडान तालिका तय गरिएको छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल गत जनवरी १ (पुस १७ गते) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुभएको थियो । विमानस्थल रु २२ अर्ब लगानीमा निर्माण भएको हो। विमानस्थल उद्घाटनको दिन हिमालय एयरलाइन्सले परीक्षण उडान गरेको थियो। त्यसयता सिचुवान एयरलाइन्सको पहिलो अन्तर्राष्ट्रिय उडान हुन लागेको हो।
चीनको सिचुआन एयरलाइन्सको आज चार्टर्ड उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र सिचुआन एयरलाइन्सबीच यही असार १ गते सम्झौता भएको थियो। उक्त एयरलाइन्सले चीनको छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चार्टर्ड उडानका लागि अनुमति पाएको थियो।
पोखराको फेवातालमा यही असार ८ र ९ गते (२३–२४ जुन २०२३)मा फेस्टिभल हुँदैछ। नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनीयाँ दूतावास र पोखरा महानगरपालिकाको आयोजनामा फेस्टिभल आयोजना गरिएको हो। पोखरा पर्यटन परिषद् र चाइना ओभरसिज एशोसिएसनले सहआयोजना गरेको फेस्टिभललाई होटल सङ्घ नेपाल (हान) र नेपाल एशोसिएसन अफ र्याफ्टिङ एजेन्सिज (नारा)लेसमेत सहयोग गरेका छन्।
बोट रेस कार्यक्रमका सम्बन्धमा गत वैशाख २१ गते पर्यटन बोर्ड, चिनियाँ दूतावास र पोखरा महानगरबीच समझदारीपत्रमा हस्ताक्षर भएको थियो। कार्यक्रमबाट पर्यटकीय सहर पोखरामा र समग्र देशमा चिनियाँ पर्यटक आगमन वृद्धि हुने विश्वास लिइएको छ। नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको आयोजनामा फेवातालमा बोट रेस र फेवाताल किनार क्याम्पिङ चोकमा फेस्टिभल सञ्चालन हुने बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मीले बताए।
कार्यक्रममा सहभागी हुन चीनको लिङ्जी नगरबाट उपप्रमुखको नेतृत्वमा ६० जनाको टोली चार्टर्ड उडानबाट सिधै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिनेछ। फेस्टिभलको सहयोगी संस्थाका रूपमा पोखरा पर्यटन परिषद् र चाइनिज ओभरसिज एशोसिएसन पोखरा छन्।
चीनले यसप्रकारको बोट फेस्टिभल विभिन्न ५० भन्दा बढी देश तथा क्षेत्रमा आयोजना गर्दै आएको नेपालका लागि चिनियाँ दूतावासका डेपुटी चिफ अफ मिसन (डिसिएम) वाङ सिनले बताए।
प्रतियोगितामा मुलुकका सातै प्रदेशबाट र चीनबाट गरी एक सय २० प्रतियोगी सहभागी हुनेछन्। दुई सय र पाँच सय मिटरमा दुई भागमा आठ बोटमार्फट रेस हुनेछ। विजेताले रु ३० लाख पुरस्कार पाउने आयोजकले जनाएको छ । पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले कार्यक्रममार्फत पोखरा र समग्र गण्डकी प्रदेशको प्रवर्द्धनमा सहयोग पुग्ने बताए।
उनले भने, “दक्षिण एसियामा पहिलोपटक आयोजना गरिएको बोट रेस फेस्टिभलले नेपालको विश्वभर प्रवर्द्धन हुनेछ । यसबाट भविष्यमा अझै बढी चिनियाँ पाहुना ल्याउन सहयोग पुग्ने विश्वास लिएका छौँ।”
फेस्टिभलमा नेपाली र चिनियाँ खाना प्रदर्शनी र चिनियाँ सांस्कृतिक कार्यक्रम पनि रहनेछ । पोखरा विमानस्थलमा पहिलोपटक हुने अन्तर्राष्ट्रिय उडानले पर्यटन क्षेत्र उत्साहित भएको अध्यक्ष श्रेष्ठले बताए। रासस |
पोखरामा पहिलो अन्तर्राष्ट्रिय उडान हुँदै कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक बुधबार अन्तर्राष्ट्रिय उडान हुने भएको छ । छिमेकी मुलुक चीनको छेन्दु–तियान्फु विमानस्थलबाट सिचुवान एयरलायन्सले पोखरामा सिधा चार्टर उडान गर्न लागेको हो ।
सिचुवान एयरलायन्सको एयरबस ए–३१९ जहाज बुधबार बिहान साढे ९ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने विमानस्थलका सूचना अधिकारी विष्णु अधिकारीले जानकारी दिए । “उडानको सबै तयार पूरा भइसकेको छ, यात्रुहरुको स्वागतका लागि संक्षिप्त कार्यक्रम राखिएको छ”, उनले भने ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीसहितले पहिलो अन्तर्राष्ट्रिय उडानबाट पोखरा ओर्लने यात्रुलाई स्वागत गर्ने कार्यक्रम तय गरिएको हो । उक्त जहाजबाट हाल चीन भ्रमणमा रहनुभएका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहितको नेपाली टोली र आगामी शुक्रबार र शनिबार पोखरास्थित फेवातालमा हुन लागेको ‘नेपाल–चीन फ्रेन्डसीप ड्रागन वोट फेस्टिभल’ मा सहभागी हुने चिनियाँ खेलाडी तथा पर्यटक पोखरा आउँदैछन् ।
जहाजबाट एक सय ३५ जना यात्रु पोखरा ओर्लने विमानस्थलका सूचना अधिकारी अधिकारीले बताउनुभयो । उक्त जहाज बुधबार नै पोखराबाट काठमाडौँ अवतरण भई नियमित उडानमार्फत छेन्दु फर्कनेछ । पोखरामा उक्त जहाजको अर्को उडानबारे जानकारी आइनसकेको विमानस्थलले जनाएको छ । अङ्ग्रेजी नयाँ वर्ष पारेर गत पुस १७ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको थियो । उक्त विमानस्थलबाट हाल आन्तरिक उडान मात्रै हुँदै आएको छ । |
बजारसँग यातायात सम्पर्क विच्छेद, दैनिक उपभोग्य वस्तुको अभाव ताप्लेजुङ । बाढीपहिराले सडक यातायात अवरुद्ध हुँदा मैवाखोला गाउँपालिकामा खाद्यान्नलगायतका उपभोग्य वस्तुको अभाव सिर्जना हुन थालेको छ ।
नजिकको बजार दोभानसँग नै यातायात सम्पर्क विच्छेद भएपछि दैनिक उपभोग्य वस्तुको अभाव सुरु हुन थालेको गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले बताए । “मदन भण्डारी राजमार्गअन्र्तगतको माङ्माया खोलाको पुल बाढीले बगाउँदा, दोभान र फुङलिङ बजारसँग यातायात सम्पर्क टुटेको छ, वसन्तपुर गुफा सडकखण्ड पहिराले अवरुद्ध छ, गाउँघरमा खाद्यान्न लगायतका वस्तुको अभाव देखिन सुरु भयो, आकस्मिकरूपमा कोही बिरामी परेर कतै लैजानुपरेमा कुनै उपाय छैन”, अध्यक्ष वनेमले भने । उनका अनुसार गाउँका आधा दर्जनभन्दा बढी पुल क्षतिग्रस्त छन् ।
मदन मण्डारी राजमार्गअन्र्तगत मैवाखोला २ र ३ जोड्ने मोटरेबल पुल पूर्णरूपमा बाढीले बगाएको छ । सोही गाउँपालिकाकै वडा नं ३ र ५ जोड्ने अर्को मोटरेबल कल्भर्ट बाढीले पूर्णरूपमा बगाएको छ । विभिन्न गाउँलाई जोड्ने चार झोलुङ्गे पुल र एउटा काठे पुल बाढीले क्षतिग्रस्त बनाएको छ । अहिले गाउँपालिकाको केन्द्रदेखि विभिन्न वडामा सवारी साधन ओहोरदोहोर ठप्प बनेको छ भने झोलुङ्गे पुल क्षतिग्रस्त हुँदा एक गाउँदेखि अर्को गाउँमा ओहोरदोहोरमा कठिनाइ छ ।
शनिबार रातिको बाढीले ती पुल क्षतिग्रस्त बनेका हुन् । “भएका पुल पुलेसा बाढीले बगाएपछि वरिपारि गर्न कठिन छ, दर्जनौँ परिवार विस्थापित छन्, उनीहरूसम्म तत्काल पुग्न सकिएको छैन, बल्ल तल्ल ओदकमा पहिरो पार गरेर पुगियो, यहाँका २१ परिवार विद्यालय र गुम्बामा बसेका छन्”, अध्यक्ष वनेमले भने । उनका अनुसार ओदक टोलका १० घर उच्च जोखिममा छन् भने ओदकसहितका विभिन्न क्षेत्रका २६ घर जोखिममा छन् । चारैतिरको बाटोघाटो र पुल पहिराले क्षतिग्रस्त हुँदा ओदक कुनै टापु जस्तै बनेको छ । यहाँका मानिस अन्यत्र जान सकिरहेका छैनन् ।
सडक सञ्चालनमा समय लागे गाउँपालिकाभित्र धेरै समस्या आइलाग्ने देखिएको अध्यक्ष वनेमले बताए । अवरुद्ध वसन्तपुर, गुफा सडकखण्ड खोल्न गाउँपालिकाले सुरु गरेको छ । तर यसमा समय लाग्ने वनेमले बताए । “वसन्तपुरतर्फको सडक खुल्न झण्डै हप्ता दिनसम्म लाग्ला, माङ्मायालगायत खोलामा पुल वा बेलिब्रिज नबन्दासम्म नजिकको बजार दोभान पुग्न कुनै विकल्प छैन, बेलिब्रिज राख्ने र सडक खुलाउने विषयमा विभिन्न निकायसँग समन्वय गरिरहेका छौँ”, उनले भने । आधा दर्जन झोलुङ्गे पुल बाढीले क्षतिग्रस्त बनेपछि गाउँका सर्वसाधारणलाई आवतजावतमा समस्या छ ।
बाढीले मैवाखोला–४ को भालढुङ्गा, माङ्माया खोलाको, मेरिङदेन गाउँपालिका जोड्ने खार्ते खोलाको, माङ्माया खोला सत्तल छेउको झोलुङ्गे पुल क्षतिग्रस्त बनाएको छ । ती पुलबाट वारिपारि गर्ने उपाय छैन । नेरुवा खोलाको काठे पुल बाढीले बगाएको छ । उक्त पुल निर्माण नहुँदासम्म गाउँघरमा आवतजावत ठप्प जस्तै हुने अध्यक्ष वनेमको भनाइ छ । सानातिना खोला खोल्सामा काठेपुल निर्माण गरे पनि ठूला खोला खोल्सामा झोलुङ्गे पुलको विकल्प छैन । मानवीय क्षति नभएको यस गाउँपालिकामा करोडौँ मूल्य बराबरका संरचना क्षतिग्रस्त बनेका छन् ।
बाढीपहिराले यहाँका पाँच वटा सानातिन जलविद्युत् आयोजना ध्वस्त भएका छन् । केन्द्रीय प्रसारण लाइनका पोलसमेत ढलेकाले गाउँपालिका नै अन्धकारमय बनेको छ । बिजुली नहुँदा सर्वसाधारण अन्धकारमा बस्न बाध्य छन् भने सञ्चारविहीन बनेका छन् । “मोबाइल चार्ज गर्ने ठाउँ छैन, भए पनि टेलिफोनका टावर दिनमा दुई घण्टा चलेर बन्द हुन्छन्, बिजुली नहुँदा पालिका तथा वडा कार्यालयबाट प्रदान गर्ने कतिपय सेवा अवरुद्ध छन्”, अध्यक्ष वनेमले भने ।
मैवाखोला–३ मा पर्ने थेरथेरेमा केन्द्रीय प्रसारण लाइनको पोल पहिरोका कारण ढलेर केन्द्रीय प्रसारण लाइन अवरुद्ध बनेको हो । यस्तै छ वटा खानेपानी आयोजनामा क्षति पुग्दा मजुवा, ताम्राङ, साँघु बजार, तेम्बेलगायत दर्जनौँ बस्तीका मानिस खानेपानीको सुविधाबाट वञ्चित बनेका छन् । विभिन्न पाँच वटा सिँचाइ आयोजनाका मुहान, कुलोलगायतमा क्षति पुगेको छ । जसले खेतीपातीमा समस्या उत्पन्न हुनेमा स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् । बर्सातकै बेला समस्या नभए पनि एक दुई दिन घाम लागे धान खेतीमा सिँचाइ अभाव हुने किसानलाई चिन्ता छ ।
शनिबार राति मुसलधारे वर्षासँगै आएको बाढीपहिराले गाई भैँसीसहित दर्जनाँै पशुचौपाया बगाएको गाउँपालिकाले जनाएको छ । बाढीपहिराले सर्वसाधारण विस्थापित हुँदा र भएका दर्जनौँ संरचना क्षतिग्रस्त हुँदा पुनःस्थापना गर्न निक्कै कठिन हुने देखिएकाले समस्या समाधानमा प्रदेश र सङ्घीय सरकारले बजेटसहितका आवश्यक सहयोग गर्न आवश्यक रहेको गाउँपालिका अध्यक्ष वनेमको भनाइ छ । जिल्लामा बाढीपहिरोमा परी तीनको निधन भएको छ भने पहिराले घर बगाउँदा बेपत्ता बनेका मेहेलेका एकै परिवारका तीन जना अझै फेला परेका छैनन् । |
बझाङ दुर्घटना : सुदूरपश्चिमका कानुनमन्त्री सिंहको निधन धनगढी । सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको मृत्यु भएको छ । उनको कोहलपुर मेडिकल कलेज, नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
मंगलबार धनगढीबाट बझाङ जाँदै गरेका मन्त्री प्रदेश ०१००१ झ ४८० नम्बरको गाडी दुर्घटनामा परेको थियो। दुर्घटनामा उनकी श्रीमती अमृतादेवी र भाउजु जानकीको घटना स्थलमा मृत्यु भएकोमा सिंहको उपचारको क्रममा ज्यान गएको हो।
मन्त्री सिंहलाई उपचारका लागि हेलिकोप्टरमा नेपालगञ्ज लिइएकोमा उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ। उनका पीएसओ दीपक भण्डारी र चालक धर्मराज जोशीको भने उपचार हुँदैछ। |
पश्चिम नवलपरासीमा चट्याङ लागेर एक जनाको मृत्यु परासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका-१० नदवामा चट्याङ लागेर एक जनाको ज्यान गएको छ ।
खेतमा काम गरिरहेका ४० वर्षीय विनोद कहांरको चट्याङ लागेर ज्यान गएको प्रहरीको भनाइ छ । चट्याङ लागी घाइते भएका कहांरको उपचारका लागि रुपन्देहीको भैरहवा सिटी अस्पतालमा लगिए पनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी भोजराज पाण्डेले जानकारी दिए ।
मृतक कहांर पाल्पा जिल्लाको पूर्वखोला गाउँपालिका-५ को विरकोटमा रहेको विरकोट आयुर्वेदिक औषधालयको कविराज निरीक्षक पदमा कार्यरत थिए । शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल पृथ्वीचन्द्र अस्पतालमा राखिएको छ । |
अस्पतालको गेट नजिकै बेवारिसे फेला परेको शिशु आफन्तलाई जिम्मा लगाइयो सिरहा। सिरहाको लहान नगरपालिका-३ मा रहेको प्रादेशिक अस्पताल गेटमा गत १३ जेठमा नवजात शिशु फालेर फरार भएकामध्ये एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
विवाह नै नगरीसँगै बस्दै आएकी युवतीसँगको सम्बन्धले शिशु जन्मिएपछि जन्मेको १५ दिनपछि अस्पतालको गेटमा फालेर फरार भएका पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
सिसिटिभी फुटेज हेरेर सादा पोसाकका प्रहरी परिचालन गरी शिशु फाल्न मोटरसाइकल चलाएर आएका पुरुषलाई लहान बजार क्षेत्रबाट गत २६ जेठमा पक्राउ गरी जन्माएको बच्चा फाल्ने र परित्याग गरेको कसुरसमा प्रहरीले मुद्दा दायर गरेको छ ।
इलाका प्रहरी कार्यालय लहानका अनुसार शिशु भेटिएपछि तत्काल उद्धार गरी अस्पतालस्थित ओसीएमसीलाई जिम्मा दिएर प्रहरीले फरार भएका दुईजनाको खोजतलास गर्ने क्रममा एकजनालाई पक्राउ गरी मुद्दा चलाएको हो । अस्पताल परिसरमा मध्यरातमा केटिएम मोटरसाइकलमा बच्चासहित मास्क लगाएका पुरुष र महिला आएर करिब १५ दिन जतिकी शिशु फालेर फरार भएका थिए।
पक्राउ परेका पुरुष र महिला गत २७ वैशाखको अपरान्ह ३ बजेको समयमा पेट दुख्यो भन्दै प्रादेशिक अस्पताल लहानमा भर्ना भएको सोही अस्तालका स्टाप नर्स निर्मला साहले बताइन्।
‘बिहानदेखि पेट दुखेको भनेर अस्पताल आएका थिए । हामीले चेकजाँच गरेका थियौँ।, चेकजाँच गर्दा उनको महिना पनि पुगेको पाइएपछि विवाहित हो कि होइन सोधौँ । उनीहरुले अल्मल्लिँदै हामीले कोर्ट म्यारेज गरेको बताए, उनले भनिन्, ‘तत्पश्चात हामी उपचारमा लागौँ, अस्पताल भर्ना भएको केही घण्टामै बच्चा जन्मियो । बच्चा महिना पुगेर जन्मिएकाले सामान्य अवस्था थियो । जस कारण भोलिपल्ट नै उनलाई डिस्चार्ज गरिएको थियो ।’
सप्तरीको कल्याणुर नगरपालिका-१० घर भएका २० वर्षीय नाम परिवर्तित भुवन चौधरी र सोही जिल्लाको बलान विहुल गाउँपालिका-२ बस्ने नाम परिवर्तित नाम करिश्मा चौधरीको बच्चा रहेको प्रादेशिक अस्पताल लहानका मेसु सुनिल कुशवाहाले बताए।
प्रादेशिक अस्पतालमै बच्चा जनमाएर गएको उनीहरुले १५ दिन पश्चात मुखमा मास्क लगाई रातीको समयमा बच्चलाई अस्पतालको गेट नजिक फ्यालेर भागेको मेसु कुशवाहाले जानकारी दिए । उनले भने, ‘हामीले बेवारिसे अवस्थामा फेला पारेका बच्चालाई आज २४ दिनपछि सबै कानुनी प्रक्रियाहरु मिलाएर लहान नगरपालिकालाई जिम्मा लगाउँदै छौँ।’
बेवारिसे अवस्थामा फेला परेको बच्चाको बुबाआमाको पनि पहिचान भइइसकेकोले नगरले उनीहरुलाई जिम्मा लगाउने भएको छ।
पक्राउ परेका युवकविरुद्ध आफूले जन्माएको बच्चा फाल्ने र परित्याग गरेको कसुरसम्बन्धी मुद्दामा सिरहा जिल्ला अदालतबाट पहिलोपटक सात र दोस्रोपटक पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लहान प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक भोलाराज भट्टले जनाएको छ।
|
कञ्चनपुरमा परेन पानी, सुरु भएन रोपाइँ वेदकोट। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका चेतराज चौधरीले गत वर्ष यस समयमा रोपाइँ सुरु गरिसकेका थिए। रोपाइँमा व्यस्त हुने यस समयमा अहिले उनी फुर्सदिला छन्।
वर्षा नहुँदा अहिलेसम्म रोपाइँ सुरु गर्न नसकेको उनी बताउँछन्। “गत वर्ष असार १ गतेदेखि नै रोपाइँ थाले, यसपटक पानी नै नपरेर खडेरी भएकाले रोपाइँ गर्न सकिएको छैन”, किसान चौधरीले भने, “सिँचाइको सुविधा नहुँदा आकाशको पानीको भरमा खेतीपाती गर्नुपर्छ।” उनी तीन बिघा जमिनमा धानखेती गर्छन्। धान, गहुँ, तरकारी खेती गर्ने चेतराज त्यसैबाट हुने उब्जाउ बेचेर घर खर्च चलाउँछन्।
बेदकोट नगरपालिका–४ का केशव बोहराको रोपाइँका लागि धानको ब्याड तयार भएको छ। तयार भएको ब्याड खडेरीले सुक्न थालेपछि उनी चिन्तित छन्। “वर्षा नहुँदा रोपाइँ सुरु भएको छैन, धानको ब्याड सुक्दै गएको छ”, उनले भने, “यस्तै रह्यो भने त कसरी रोपाइँ गर्ने ?”
भीमदत्त नगरपालिका–११ भुजेलाका राजेश जोशी रोपाइँका लागि आकाशको पानीको पर्खाइमा छन्। “रोपाइँको सम्पूर्ण तयारी भइसक्यो, ब्याड पनि तयार छ”, उनले भने, “पानी नपर्दा ढिलाइ भइरहेको छ।” धान बाली उत्पादनको दृष्टिकोणले महत्त्वपूर्ण जिल्ला मानिने कञ्चनपुरमा मल, बीउलगायत कृषि सामग्रीका साथै सिँचाइ सुविधाको अभावले आकाशे पानीको भर पर्नुपर्ने बाध्यता रहेको छ।
सुक्खा खडेरीका कारण धान रोपाइँमा ढिलाइ भएको कृषि ज्ञान केन्द्र कञ्चनपुरका सूचना अधिकरी हरि जोशीले बताए। “सिँचाइको सुविधा भएको केही ठाउँतिर रोपाइँ सुरु भएको छ”, उनले भने, “अधिकांश किसानलाई आकाशे पानीको भर पर्नुपर्ने बाध्यता हुनाले सबैतिर रोपाइँ सुरु भएको छैन।”
उनका अनुसार जिल्लामा अहिलेसम्म करिब दुई प्रतिशतमात्रै रोपाइँ भएको छ। नहर तथा बोरिङको सुविधा भएका केही ठाउँमा किसान रोपाइँ गरिरहेका छन्। कञ्चनपुरको बेलौरी, पुनर्वास, भीमदत्त, बेदकोट, कृष्णपुर, शुक्लाफाँटा, बेलडाँडी, दोधाराचाँदनी, लालझाडीलगायत क्षेत्रमा गरेर ४८ हजार चार सय ९६ हेक्टर जमिनमा धानखेती गरिन्छ।
कृषकहरूले हर्दीनाथ, सुक्खाको १ देखि ४ सम्म, राधा–४, साँवा मन्सुलीलगायत उन्नत जातका बीउको प्रयोग गर्ने गरेका छन्। सिँचाइको अभावमा रोपाइँमा ढिलाइ हुँदा किसान चिन्तित बनेका छन्। – रासस |
आँरुखर्कवासीको बिलौना : सरकार फेरियो, समस्या फेरिएन सुर्खेत। सुर्खेतको चिंगाड गाउँपालिकाको धरमपोखरा नजिकै एउटा गाउँ छ, आँरुखर्क। हरियाली डाँडापाँखाले घेरेको त्यो गाउँमा घरहरू व्यवस्थित छन्।
स्थानीयहरूको दैनिकी गुजारा सामान्य खालको छ। उनीहरू एकाबिहानै हातमुख नधोएरै लस्करै लागेर बृद्धबृद्धादेखि युवा र बालबालिका करिब दुई घण्टा हिँडेर एक गाउँबाट अर्को गाउँमा पानीको जोहो गर्न जान्छन्। मिर्मिरेमै उनीहरू जङ्गलको बाटो उकाली–ओराली गर्दै पिउने पानीको व्यवस्था गर्न बाध्य छन्।
आरुखर्क गाउँमा विभिन्न जातिका मानिसको बसोबास छ। त्यहाँ जान बित्तिकै रमाइलो गाउँ, मनोरम जंगल देख्न सकिन्छ। चिङ्गाड गाउँपालिका वडा नम्बर ५ स्थित आँरुखर्कका गाउँवासी हरेकले आफ्नो घरमा पानी बोक्न एउटा जर्किन, बोतल, स्टिलको गाग्री र डोको राखेका हुन्छन्। केही दिन अघि समाचारको लागि हाम्रो टिम एकाबिहानै उक्त गाउँ पुगेको थियो।
गाउँमा पुग्दा घरमा मान्छेहरु थिएनन्। सबै मानिस पानी ल्याउन घरदेखि टाढाको धारामा पुगेका थिए। हाम्रो रिपोर्टिङमा पुगेको टिम स्थानीय केही व्यक्तिले दिएको सूचनाअनुसार करिब २ घण्टा पैदलयात्राको बाटो छिचोल्दै पानी भर्ने ठाउँमा पुग्यो। उक्त भिडमा स–साना विद्यार्थीदेखि बुढेसकाल लागेका बृद्धबृद्धाहरुको समेत बाक्लो उपस्थिति थियो।
भिडबाट एक महिलाको आवाज आयो, ‘ढाँडको छाला गइसके, खुट्टामा फोका उठेका छन्।’ फेरि अर्को आवाज आयो, ‘यस्तो त अहिलेदेखि होइन विगतदेखि नै यस्तै हो।’ सयौं डोका, बोतल, गाग्री र त्यत्तिकै मान्छेको भिड सबै त्यहाँ पानी ल्याउन गएका थिए। गाउँभन्दा धेरै टाढा डोप्केबाट बोकेर पानी ल्याउनुपर्ने हुँदा उनीहरू बिहानै घरबाट लाइन लागेर धारामा पुग्दा रहेछन।
दुई घण्टा हिँडेर धारामा आएपनि त्यहाँ उनीहरूले पालो कुर्नुपर्छ। प्रशस्तै पानी पनि पाउँदैनन्। गाउँभन्दा करिब दुई घण्टा हिँडेर पल्लो गाउँमा पानी लिन जानु उनीहरूको दैनिकी नै बनेको छ। ‘बिहानै उठेर पानी भर्न जानुपर्छ, आउन–जान २ घण्टाभन्दा बढी समय लाग्ने हुँदा काममा र स्कुल जाने छोराछोरीलाई सधैँ ढिला हुन्छ,’ ५५ वर्षकी धनकुमारी रानाले भनिन्।
अर्का एक महिलाले पनि एक बाल्टिन पानी लिन मात्रै बिहान भरी लाग्ने दुखेसो सुनाइन्। ‘पानी लिनै बिहानभरी लाग्छ, कति बेला खाना पकाउने, खाने रु पानी लिन मात्रै दिनमा तीनपटक आउनुपर्छ,’ उनले भनिन्। यस्तै सोही ठाउँकी देवी रानाले पनि राति ११ बजेसम्म पानी मात्रै बोक्नु परेको बाध्यता रहेको सुनाइन्।
‘राति निद्रा समेत लाग्दैन राति ११ बजेसम्म पानी बोक्छौ, फेरि बिहान २ बजेबाट पानी बोक्नलाई गाग्रा बाल्टिन समातेर जङ्गलको बाटो करिब दुईघण्टा जति हिँडेर आउँछौँ, ’रानाले भनिन् । यस्तै, ७८ वर्षका टोपबहादुर रानाले भने, ‘गाउँमै खानेपानीको ट्याँकी त बनेको छ, तर त्यसमा पानी आउँदैन, काम अलपत्रै परेको छ, सरकार त फेरियो तर समस्या फेरिएन।’
उनले जतिसक्दो पानी पुर्याउने पहल गर्नुपर्ने माग गरे। ‘मान्छेले खानको लागि त टाढैको मुहानबाट भए पनि जसोतसो काम चलिरहेका छौ, तर गाई भैँसीलाई खुवाउन र मान्छेको सरसफाइ गर्न भने निकै समस्या भएको छ,’ ७८ वर्षका टेकबहादुर रानाले भने। रानाले विगतदेखि नै यसरी पानी बोकेर गाउँलेहरुले जीवन धान्दै आएको बताए।
स्वच्छ खानेपानी नागरिकको संवैधानिक अधिकार हो। नेपालको संविधान, २०७२ मा मौलिक हकअन्तर्गत धारा ३५ को उपधारा ४ मा लेखिएको ‘प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुनेछ’ भन्ने कुरा संविधानमा नै सीमित भएको छ। घरघरमा धारा पुर्याईएपनि पानी नआउँदा उनीहरूलाई निकै समस्या भएको हो।
३१ लाख गयो, तर काम पूरा भएन
आरुखर्क, सिन्नुपोले, डोप्के र धरमपोखरा समेतका करिब एकसय घरधुरीलाई लक्षित गरी निर्माण सुरु गरिएको खानेपानी आयोजना भने बिचैमा रोकिएको छ। कर्णाली प्रदेश सरकारअन्तर्गतको खानेपानी, सिँचाई तथा विकास निर्देशनालयबाट आर्थिक वर्ष २०७६/०७७ देखि क्रमागत योजनाका रूपमा डोप्का सिस्नुपोले आरुखर्क लिफ्ट खानेपानी आयोजना सुरु भएको थियो।
त्यसपछिका तीन आर्थिक वर्षमा आएको रकमबाट आयोजनाको मुहानको ट्यांकी, पावर हाउस, रिजर्भवायर ट्यांकी, मुख्य पाइपलाइन लगायतका करिब सम्पूर्ण भौतिक निर्माणका काम सकिएको छ। अब सोलार सिस्टम र मोटर जडान गरेपछि पानी आउन सुरु हुन्छ। तर सरकारले गत आर्थिक वर्ष र यस चालु आर्थिक वर्षमासमेत उक्त आयोजनाका लागि रकम विनियोजन नगरिदिदा आयोजनाको काम बिचैमा रोकिएको हो।
आर्थिक वर्ष २०७६/०७७ मा जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको क्रमागत बजेटमा निर्माण सुरु भएको खानेपानी आयोजना दुई आर्थिक वर्षमा बजेट अभावका कारण अलपत्र परेको वडा नम्बर ५ का वडा अध्यक्ष लालबहादुर जिसीले बताए। उनले प्रदेश सरकारको बजेटबाट सुरु भएको आयोजनामा आफूले हात हाल्न नमिल्ने र वडाको बजेटसमेत अपुग भएकाले उक्त आयोजना बिचमै अलपत्र परेको बताए।
खानेपानीको चरम समस्या व्यहोरिरहेका आँरुखर्कमा निर्माणाधीन खानेपानी आयोजनाका लागि बजेट अभावकै कारण आयोजनाको काम रोकिएकोमा स्थानीयवासीले आक्रोशित छन्। उनीहरूले पानी आउँला भनेर श्रमदान समेत गरेको बताए। अन्तिम समयमा आएर आयोजना नै अलपत्र पर्नु दुखद भएको उनीहरूको गुनासो छ। निर्माण बिचमै अलपत्र परेपछि यहाँका स्थानीयले राम्रो खानेपानी उपभोग गर्न पाएका छैनन्।
अध्यक्ष जिसीले आयोजना सम्पन्न हुने अन्तिम चरणमा बजेटको अभाव हुँदा खानेपानीको समस्या समाधान गर्न नसकेको स्वीकार गरे। उनले खानेपानी जस्तो संवेदनशील क्षेत्रमा सरकारले बजेट उपलब्ध गराउन बेवास्ता गरेको भन्दै तत्काल रकम उपलब्ध भए उक्त लिप्टिङ खानेपानी आयोजना सम्पन्न हुने बताए।
यता, खानेपानी, सिँचाई तथा विकास निर्देशनालयले बजेट माग गरी पठाइएको तर मन्त्रालयबाट कटौती हुँदा काम गर्न नसकेको खानेपानी, सिँचाई तथा विकास निर्देशनालयका निमित्त निर्देशक श्रीधर भट्टराईले बताए। उनले आगामी आर्थिक वर्षमा सकेसम्म यसका लागि बजेट विनियोजन गरिने जानकारी दिए।
निर्देशनालयका इन्जिनियर गोपालप्रसाद उपाध्यायले उक्त आयोजनाको लागि चारपटक गरी ३१ लाख भन्दा बढी भुक्तानी भइसकेको जानकारी दिए। उनले आर्थिक वर्ष २०७६/ ०७७ मा ११ लाख ६ हजार १ सय १२ रुपैयाँ, ०७७/०७८ मा ९ लाख ९ हजार ६ सय ४९, सोही आर्थिक वर्षमा ३ लाख ३५ हजार ६ सय ९० रुपैयाँ र ०७८/ ०७९ मा ७ लाख ५९ हजार ३ सय ६३ रुपैयाँ गरेर कुल ३१ लाख १० हजार ८ सय १४ रुपैयाँ भुक्तानी भइसकेको जानकारी दिए। |
थाक्रेको नयाँ चिनारी बन्दै ‘नौबिसे ट्रयाम्प जिपलाइन’ नौबिसे। काठमाडौँबाट २७ किलोमिटरको दूरीमा पर्ने ‘ट्रयाम्प जिपलाइन’मा आन्तरिक पर्यटकको आकर्षण बढ्न थालेको छ। धादिङको थाक्रे गाउँपालिका–७ सातघुम्तीस्थित ‘नौबिसे ट्रयाम्प अग्र्यानिक रिसोर्ट एन्ड जिपलाइन’ नियमित सञ्चालनमा आएको एक वर्षमै करिब चार हजारले यसको मनोरञ्जन लिइसकेका छन्।
एक हजार दुई सय मिटर लामो सो जिपलाइन पछिल्लो समयमा नेपालमा सञ्चालनमा आएको सम्भवतः सबैभन्दा भिरालो (स्टेपेष्ट) जिपलाइन हो भने नेपालको दोस्रो लामो जिपलाइन हो। धादिङको नौबिसेबाट दामन जाने सडकमा पर्ने यो रिसोर्ट र जिपलाइनको विसं २०७९ वैशाख ७ गते बागमती प्रदेश सरकारका तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले शुभारम्भ गरेका थिए।
हाल पृथ्वी राजमार्गअन्तर्गत थानकोट सुरुङमार्गको निर्माणका कारण हुने जाम र सडकको खाल्डाखुल्डी तथा आर्थिक मन्दीका कारण रिसोर्ट र जिपलाइनमा अपेक्षित ग्राहक आउन नसकेको यसका सञ्चालक बताउँछन्। रिसोर्टमा हाल नौवटा कोठा रहेकामा यसलाई विस्तार गर्ने र स्मिमिङ पुलसमेत निर्माण गर्ने योजना रहेको छ।
छोटो समयमा सबैभन्दा आकर्षक मानिने यस साहसिक पर्यटन उत्पादनले आन्तरिक पर्यटकलाई आकर्षित गराउँदै आएको छ। प्रतिव्यक्ति रु तीन हजार पाँच सय शुल्क राखिएको यो जिपलाइनले २५ प्रतिशत छुटसहित विभिन्न प्याकेज दिँदै आएको छ। जिपलाइनका प्राविधिक विकास भण्डारी यो जिपलाइन नेपालकै सबैभन्दा भिरालो (ठाडो) भएको जनाउँदै यसमा व्यक्तिको तौलअनुसार चुम्बकीय ट्रली प्रयोग हुने बताए।
यसमा १० वर्षभन्दा कम उमेर र ३५ केजीभन्दा कम तौल भएका तथा बढीमा एक सय १५ केजीका व्यक्तिलाई मात्रै चढाइन्छ। कुनै गम्भीर रोगका बिरामी, उच्च रक्तचाप वा तर्सने स्वभावका व्यक्तिलाई पनि यसमा नचढ्न सुझाव दिइन्छ। यसमा प्रायः मानिसहरू बिदाको दिन र शनिबार बढी आउने गरेका छन्।
कुल एक सय २७ रोपनी क्षेत्रफलमा रहेको सो रिसोर्ट र जिपलाइनमा गरी हालसम्म करिब रु २७ करोड लगानी भइसकेको र जिपलाइनका लागि मात्रै रु दुई करोड लगानी भएको रिसोर्टका व्यवस्थापक प्रत्युश लामाले जानकारी दिए। यसमा १२ लगानीकर्ता छन् भने कार्यरत कर्मचारी अधिकांश स्थानीय छन्। जिपलाइनका प्राविधिकलाई त्यही तीन महिना तालिम दिइएको थियो । यसमा अष्ट्रेलिया र क्यानडाका प्रविधि लिइएको छ।
थाक्रे गाउँपालिका–७ का वडाध्यक्ष युवराज खतिवडा काठमाडौँबाट नजिकको दूरीमा रहेको यस नयाँ रिसोर्ट र जिपलाइनले आन्तरिक पर्यटक बढाउन सक्ने बताउँदै गाउँपालिकाका तर्फबाट आवश्यक पूर्वाधार र पर्यटन पूर्वाधारका काममा प्राथमिकता दिइने जनाए। उनले उक्त जिपलाइनलाई गाउँपालिकाका एक चिनारीका रूपमा पनि विकास गर्न सकिने बताए।
हालसम्म विश्वकै लामो जिपलाइनका रूपमा पोखराको जिपफ्यायर नेपालको एक हजार आठ सय मिटरको जिपलाइन रहेको छ। नेपालमा पहिलोपटक पोखराको साराङकोटडाँडाबाट जिपलाइनको थालनी भएको हो। हाल करिब एक दर्जन जिपलाइन सेवा नियमित सञ्चालनमा आइसकेका छन्। |
बागमतीका मन्त्री श्रेष्ठले सिन्धुली कारागारलाई हस्तान्तरण गरे राइस स्टिमर मेशिन सिन्धुली। बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री गंगा नारायण श्रेष्ठले जिल्ला कारागार सिन्धुलीलाई राइस स्टीमर मेसिन हस्तान्तरण गरेका छन ।
जिल्ला कारागार सिन्धुलीलाई ४ थान राइस स्टीमर मेसिन हस्तान्तरण गरेको बाग्मती प्रदेशका मन्त्रीले साे जानकारी दिएका हुन ।
१ हजार भन्दा बढि कैदीबन्दी रहेको कारागारमा दाउरामा खाना बनाउनको लागि असहज भइरहेको गुनासोको सम्बोधन गर्दै मन्त्री श्रेष्ठले राइस स्टीमर मेसिनको ब्यबस्था गरिदिएका हुन ।
उनका अनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालको आर्थिक सहयोगमा नेपालमा नै कारागारलाई पहिलो पटक सो मेसिन प्रदान गरिएको हो ।
केहि समय अगाडि जिल्ला कारागार सिन्धुलीको अनुगमनको क्रममा १ हजार जना भन्दा धेरै कैदिबन्दीलाई खाना बनाएर खानको लागि समस्या भएको गुनासो गरे पछि राइस स्टीमर मेसिन प्रदान गरिएको मन्त्री श्रेष्ठले बताए ।
‘लामो समयसम्म आफैंले बन्दी जीवन बिताएको जिल्ला कारागार सिन्धुलीमा मन्त्री बनेपछि निरीक्षण गर्न जाँदा झन्डै १ हजार बन्दी बस्दै आएको यस कारागारमा दाउराबाट खाना बनाउन साह्रै गाह्रो देखेपछि आन्तरिक मामिला तथा कानुन मन्त्रालयको तर्फबाट राइस स्टिमर उपलब्ध गराउने प्रतिबद्धता गरेको थिएँ’ उनले हस्तान्तरण कार्यक्रम पछि भने, ‘सोही प्रतिबद्धता अनुसार ४ लाख ६५ हजार (ढुवानी समेत) को करिब १ हजार जनालाई खाना बनाउन मिल्ने ४ थान राइस स्टिमर कारागार प्रशासनलाई हस्तान्तरण गरियो।’
उनका अनुसार बागमती प्रदेश सरकारले कारागारलाई साँच्चैको सुधारगृह बनाउन चाहेका छ ।
मन्त्री श्रेष्ठको पहलकदमी अनुसार कारागालाई हस्तान्तण गरिएको ४ ट्रे को २ थान र १२ ट्रे को २ थान गरी चार थान राइस स्टीमर कारागारलाई प्रदान गरिएको हो ।
|
गुणादीको पहिरोमा पुरिएर दुई मजदुरको मृत्यु दमौली। तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीमा सोमबार साँझ पहिराले पुरिएर घाइते भएका दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा झापाको शिवशताक्षी नगरपालिका–७ बस्ने ३३ वर्षीय भीम भुजेल र उदयपुरको कटारी नगरपालिका–७ बस्ने ४० वर्षीय बलबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
घाइतेमध्ये भीमको दमौली अस्पतालमा र बलबहादुरको पोखरामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए। गम्भीर घाइते भई पोखरा पठाइएका बलबहादुरको राति मृत्यु भएको उनले बताए।
ढिस्काले पुरिएर घाइते झापाको शिवशताक्षी –७ बस्ने ४५ वर्षीय कृष्ण लिङ्देनको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। मुग्लिन पोखरा सडकखण्डअन्तर्गत सडक छेउमा पर्खाल निर्माणका क्रममा माथिबाट खसेको माटोको ढिस्कोले पुरिएर तीन जना घाइते भएका थिए। |
मेहेल पहिरो : बेपत्ता अझै भेटिएनन् फुङ्लिङ। गत शनिबार राति ताप्लेजुङ सिदिङ्वा गाउँपालिका-६ मेहेलेमा गएको पहिरामा परी बेपत्ता भएकाको खोजीकार्य जारी छ। अहिले स्थानीय र नेपाल प्रहरीले खाजीकार्य जारी राखेका छन्।
सिदिङ्वा गाउँपालिका-६ मेहेले मुकुभञ्ज्याङमा शनिबार राति पहिराले एकै घरको तीन गरी चार जनाको बगाएको थियो।
चार जनामध्ये आइतबार बिहान एक जनाको शव भेट्टिएको थियो भने एकै घरका परिवारको तीन जना अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रवक्ता कुशुराम कार्कीले बताए।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राजन लिम्बूका अनुसार मेहेलेमा भालुखोपका ६३ वर्षीया भगीमाया बुढाक्षेत्री, उनकी बुहारी ३० वर्षीया सन्ध्या र नाति नौ वर्षीय प्रज्ज्वल अझै बेपत्ता रहेको र उनीहरूको खोजतलास तथा उद्धार जारी रहेको जानकारी दिए।
जिल्ला प्रहरीका अनुसार आइतबार बिहान सिदिङ्वा-६ मेहेलेमा पहिरामा परी एकै परिवारका बाबुछोराको मृत्यु भएको छ। गएको पहिरामा परी मेहेलेका ६७ वर्षीय केशरबहादुर राई र छोरा ३६ केशरकुमारलाई मृतावस्थामा फेला पारिएको थियो।
सोही पहिरामा परी ४५ वर्षीय राजकुमार राई गग्भीर घाइते अवस्थामा नेपाली सेनाको हेलिकोप्टरमार्फ उद्धार गरिएको छ।
जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार प्रतिकूल मौसमका कारण पाँचथर जिल्लामा आकस्मिक अवतरण गरेर पाँचथरमै उपचार भएको थियो।
घाइते राईलाई थप उपचारका लागि आज बिहान नेपाली सेनाका हेलिकोप्टरमार्फत विराटनगरको न्यूरो अस्पतालमा पुर्याएको जिल्ला विपद् व्यवस्थापन समिति ताप्लेजुङले जनाएको छ। रासस |
लुम्बिनीमा विश्व याेग दिवस (फाेटाेफिचर) भैरहवा। विश्व योग दिवसको अवसरमा बुद्धजन्मस्थल लुम्बिनीमा गरिएको योग कार्यक्रम भएकाे छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चाैधरी, पतंजली नेपालका प्रमुख लगायतकाे उपस्थितिमा साे याेग कार्यक्रम गरिएकाे हाे।
|
अन्तरजातीय विवाहको पीडा : न विवाह दर्ता न जन्मदर्ता जानकी। बैजनाथ गाउँपालिका–४ पिपलडाँडाका सुनिता परियारको विवाह भएको १२ वर्ष भयो। छिन्चु माइतीघर भएकी उनको बैजनाथ–४ का रामबहादुर थापासँग भागी विवाह भएको थियो। उनको अहिलेसम्म न विवाह दर्ता बनेको छ न त बालबच्चाको जन्मदर्ता नै। विवाह भएदेखि श्रीमान् र घरपरिवारले दलित समुदायको बुहारी भित्र्याएको भन्दै हेला गर्दै आएको सुनिताले बताइन्।
तीन सन्तानकी आमा सुनिताका दुई छोरी र एक छोरा छन्। तीनै जनाको जन्मदर्ता बनेको छैन। सामान्यदेखि घरको पूजाआजा र अन्य काममा समेत विभेद गर्दै आएको उनीको भनाइ छ। “विवाह गरेको दिनदेखि अहिलेसम्म पीडाबाहेक कुनै दिन सुख आएन”, सुनिताले भनिन्, “अहिले घर न घाटको भएकी छु। श्रीमान्लाई घरपरिवारले अन्यत्र भगाएका छन्। आफू भने छोराछोरीको जोहो कसरी टार्ने भन्ने पिर छ।”
सुनिता अहिले राँझास्थित आफ्नो दिदीसँग बस्दै आइरहेकी छिन्। “श्रीमान्ले घर छाडेपछि म दिदीसँगै बस्दै आएकी छु। उहाँसँगै मिलेर काम गर्छु। सुख–दुःख पोख्ने गर्छु”, उनले भनिन्, “मेरो त यस्तै हो, छोराछोरीको चिन्ताले सताउँछ। विवाह दर्ता भएको भए विदेश गएर पनि कमाउन सकिन्थ्यो तर विवाह दर्ता बनाउन श्रीमान् र घरपरिवार राजी छैनन्। पाएको काम पनि गर्न सकिएको छैन।”
अन्तरजातीय विवाहले गर्दा विवाह दर्ता, नागरिकता र बच्चाको जन्मदर्ता बनाउन घरपरिवारले कहिले पनि सहयोग नगरेको सुनिताले बताइन्। “वडा कार्यालय, इलाका प्रहरी कार्यालय कोहलपुर र बैजनाथ गाउँपालिका धाउँदाधाउँदै हारेस खाइसकेँ कतैबाट आश्वासन आएन”, उनले भनिन्, “जहाँ जाँदा पनि श्रीमान् ल्याउन भन्छन् सम्पर्कमै नभएको श्रीमान् कहाँबाट खोजेर ल्याउने ? भन्दै घर फर्किनुहुन्छ।”
सुनिताका आमा विष्णु परियारले सानो उमेरमै मन पराएर अन्तरजातीय बिहे गर्दा छोरीले दुःख पाइरहेको पीडा सुनाइन्। “बिहे गरेदेखि नै छोरीको दुःख देखेर घरमा शान्तिको महसुस कहिल्यै भएन।” उनले भनिन्, “छोरीको पीडा देखेर उराठ लाग्छ, सधैँ चिन्ताले सताइरहन्छ। यसको विवाह दर्ता बन्यो र नातिनातिनीहरूको जन्मदर्ता बनेको हेर्न इच्छा छ। ”
सुनिताले बिहे गरेदेखि सुनिताका श्रीमान् र सासु–ससुराले विवादमात्र सिर्जना गरेको आमा विष्णुले बताइन्। सुनिताको माइतमा कोही मर्दापर्दा पनि आउँदैनन् भन्दै आमा विष्णु पछ्यौैराले मुख छोपेर भक्कानिएर रोइन्। उनका अनुसार बोल्दा पनि होच्याएर बोल्ने। अपशब्द प्रयोग गरेर बोल्ने गरेको उनको भनाइ छ। सुनिताको दुःख देखेर नंगा परियारले सकेको सहयोग गर्दै आइरहेका छन्। दिदीको पनि सुनिताको भन्दा त कम पीडा छैन। तर पनि सुख–दुःख जे–जस्तो भए पनि बाँडीचुडी खाउँला भनेर उनीहरूसँगै बस्दै आएका छन्।
“बहिनीको दुःख देखेर दया लागेर आउँछ, सुनिताको श्रीमान् खोज्न हरसम्भव प्रयास गर्दा पनि भेट्टाउन सकिरहेका छैनौँ”, नंगाले भनिन्, “ज्वाइँलाई लुकाउन घरपरिवारको ठूलो हात छ। तर पनि हामीलाई कानुनमाथि विश्वास छ, एक दिन त मेरी बहीनी र यसका बच्चाले पक्कै न्याय पाउनेछन्।”
बैजनाथ वडा नं ४ का वडासचिव तिलक खत्री नागरिकता र विवाहदर्ताका लागि श्रीमान् स्वयं उपस्थित हुनुपर्ने बताउँछन्। बालबच्चाको जन्मदर्ता बनाउन सचिवले नै बालबालिकाको आफन्त र गाउँ समाजलाई साक्षी राखेर बनाउन सकिने उनको भनाइ छ। वडासचिव खत्रीका अनुसार रामबहादुर थापालाई वडा कार्यालयसम्म ल्याउने व्यवस्था गरेपछि आफूहरूले सबै प्रक्रिया पुर्याएर विवाह दर्ता र नागरिकता सिफारिसका साथै जन्मदर्ता बनाउन मद्दत गर्ने जानकारी गराए।
श्रीमान नभएको खण्डमा विवाहदर्ता र नागरिकताका लागि अदालतबाट नाता प्रमाणित कायम गरेको प्रमाणका आधारमा पनि बनाउन सकिने वडासचिव खत्रीले बताए। – रासस |
धर्मशाला भाडामा लगाउन बोलपत्र खुलाएपछि विवाद गाेरखा। गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरको धर्मशाला भाडामा लगाउनका लागि गुठी संस्थानले बोलपत्र खुलाएपछि विवाद सुरु भएको छ। मन्दिर अगाडि रहेको धर्मशालामा गुठी संस्थानले व्यवसाय सञ्चालन गर्नका लागि बोलपत्र आह्वान गरेपछि स्थानीयवासीले विरोध गरेका छन्।
धर्मशालामा व्यवसाय सञ्चालन गर्नुभन्दा सस्तो दररेटमा मन्दिरमा आउने भक्तजनलाई बास बस्नका लागि सेवा सुविधा गरी धर्मशाला सञ्चालनमा ल्याउनुपर्ने जनाउँदै श्री मनकामना माई गुठीका गुठियार र स्थानीयवासीले विरोध गरेको स्थानीयवासी दिनेश श्रेष्ठले जानकारी दिए।
मनकामना क्षेत्र विकास समितिले मन्दिरको गुरुयोजनामै धर्मशालामा भक्तजनलाई सुलभ मूल्यमा बसोबासका लागि व्यवस्था मिलाउने योजना प्रस्ताव गरेको भन्दै पुनः व्यक्तिलाई दिएर व्यवसाय सञ्चालन गर्न खोज्नु गलत भएको स्थानीयवासीको भनाइ छ। मनकामना गुठीले यही असार २ गते होटल सञ्चालनका लागि भन्दै गरिएको बोलपत्र रद्द गर्न गुठी संस्थानलाई पत्र पठाएको मनकामना गुठीका प्रमुख भीमबहादुर श्रेष्ठले बताए।
“धर्मशाला हाल जीर्ण भइसकेको र विसं २०७२ को भूकम्पपश्चात प्राविधिक जाँचका क्रममा रातो चिह्न लगाई जोखिमपूर्ण निर्धारण भएको भन्दै धर्मशालालाई पुनःनिर्माण गर्नुपर्ने भनेर संस्थानलाई जानकारी गराइसकिएको भए पनि मर्मत गर्नुको साटो उल्टै पुनः बोलपत्रको आह्वान गर्नु सरासर जनमतको खिलाफ हो”, मनकामना गुठीले संस्थानलाई पठाएको पत्रमा भनिएको छ।
पत्रमा भवनलाई पुनः व्यापारिक प्रयोजनमा ल्याउन खोजे मनकामना गुठी परिवार तथा सम्पूर्ण जनसमुदाय कडा प्रतिकारमा उत्रन बाध्य हुने उल्लेख गरिएको छ। विसं २०७२ को गोरखा भूकम्पपछि मनकामना मन्दिर जीर्णोद्वारसँगै धर्मशालालाई पनि धर्मशालाकै रूपमा विकास गरी भक्तजनलाई सेवा सुविधा दिने गरी गुरुयोजना तयार भएको स्थानीयवासीको भनाइ छ।
गुरुयोजनाअनुसार धर्मशाला पछाडि रहेको स्थानलाई समेत समेटेर वनभोजस्थलका रूपमा विकास गर्ने लक्ष्य मनकामना क्षेत्र विकास समितिले राखेको छ। स्थानीवासीकोे अनुरोध र आग्रहलाई बेवास्ता गर्दै पुनः बोलपत्र आह्वान भएकाले यसमा ठूलो आर्थिक चलखेल हुनसक्ने श्रेष्ठले बताए।
चौतर्फी विरोध हुँदा पनि गुठी संस्थान यस विषयमा मौन बस्नु झनै शंकास्पद देखिएको उद्योग वाणिज्य संघ मनकामना एकाइका अध्यक्ष हरि श्रेष्ठले बताए। उनले धर्मशालालाई पुनःनिर्माण गरी धर्मशालाकै रूपमा सञ्चालन गर्नुपर्ने भन्दै अब कुनै हालतमा अन्य व्यावसायिक प्रयोजनका लागि भाडामा लगाउन नदिने बताए।
गएको ४० वर्षदेखि धर्मशालालाई गुठी संस्थानले व्यापारिक प्रयोजनका लागि भन्दै व्यक्तिलाई भाडामा दिएर आम्दानी गर्दै आएको थियो।
संस्थानले व्यवसाय सञ्चालन गर्न जेठ ३१ गते सार्वजनिक सूचना जारी गरेर बोलपत्र आह्वान गरेसँगै मनकामनावासीले धर्मशालामा होटल सञ्चालन गर्न नहुने भन्दै विरोध सुरु गरेका हुन्। गुठी संस्थानले मासिक न्यूनतम रु एक लाख भाडा तिनुपर्ने गरी धर्मशालामा व्यवसाय सञ्चालनका लागि बोलपत्र आह्वान गरेको हो।
‘विवादको साटो मेलमिलापको बाटो’
गोरखा नगरपालिकाले नगरपालिकाभित्रका ५० जनालाई आधारभूत मेलमिलाप तालिम प्रदान गरेको छ । वडास्तरमा हुने गरेका सानातिना विवादलाई स्थानीयस्तरमै हल गर्न भूमिका खेल्न मेलमिलापकर्ताहरूलाई कानुनी ज्ञानसहित आधारभूत मेलमिलाप तालिम प्रदान गरिएको नगरप्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिए।
नगरभित्रका १४ वटै वडाले छनोट गरेर पठाएका मेलमिलापकर्ता प्राकृतिक द्वन्द्व रुपान्तरण केन्द्र नेपालको प्रविधिक सहयोगमा तालिम प्रदान गरिएको उनले बताए। ‘विवादको साटो मेलमिलापको बाटो’ भन्ने नारासहित सोमबारदेखि सुरु भएको तालिम आठ दिनसम्म सञ्चालन भएको नगरप्रमुख रानामगरले जानकारी दिए।
“गाउँघरमा हुने सामान्य खालका विवादलाई स्थानीयस्तरमै मिलाउनका लागि मेलमिलापकर्तालाई तालिम दिइएको छ”, उनले भने, “उनीहरूलाई कसरी विवाद समाधान गर्ने र कानुनी उपचार विषयलगायतका सवालमा पनि जानकारी प्रदान भएको छ।”
साना विवाद समयमा समाधान हुन नसक्दा पछि झनै ठूलो र झन्झटिलो बन्न सक्ने भएकाले गाउँमै समाधान गर्न सक्ने गरी मेलमिलापकर्तालाई सक्षम बनाउन तालिम प्रभावकारी भएको उनले बताए।
नगरप्रमुख रानामगरले मेलमिलापसम्बन्धी आधारभूत तालिम लिएका मेलमिलापकर्तालाई गोरखा नगरपालिकालाई न्यायिक, नमूना र उदाहरणीय नगरपालिका बनाउन पहल गर्न आग्रहसमेत गरे।
तालिममा सहभागी मेलमिलापकर्तालाई चार जनाले प्रशिक्षकले नेपालको अहिलेको ऐन, कानुनलगायतका विषयमा अभिमुखीकरण प्रदान गरेको थिए।
सहभागीले मेलमिलापसम्बन्धी आधारभूत ज्ञान प्राप्त गरेपछि उनीहरूबाट स्थानीय विवादलाई वडास्तरबाट नै निरुपण गर्न सजिलो हुने नगरपालिकाकी उपप्रमुख मसलीमाया थोकरले बताए। तालिममा सहभागीलाई सोमबार एक कार्यक्रममा बीच नगरप्रमुख रानामगरले प्रमाणपत्र वितरण गरेका हुन्। रासस |
दार्चुलाको खाणेश्वरी केन्द्रविन्दु भएर भूकम्प काठमाडाैं। दार्चुलाको खाणेश्वरी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार दार्चुला जिल्लाको खाणेश्वरी आपसपास केन्द्रविन्दु भएर आज बिहान ४ बजेर ५५ मिनेट जाँदा चार रेक्टरस्केलको भूकम्प गएको हो।
यसअघि गत जेठ २९ गते बाजुरा जिल्लाको बिछिया केन्द्रविन्दु भएर चार दशमलव चार रेक्टरस्केलको भूकम्प गएको थियो।
पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी हिमाली तथा पहाडी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी छ। नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ। |
कृषकलाई प्रोत्साहन गर्न अनुदान नीति दमाैली। तनहुँको सरकारी निकायले अनुदानको नीति अगाडि सारेका छन्। कृषकलाई कृषि पेसामै टिकाइराख्ने उद्देश्यसहित जिल्लाका सरकारी निकायले अनुदानको नीतिलाई प्राथमिकता दिएका हुन्।
कृषि ज्ञान केन्द्र तनहुँ, आँबुखैरेनी, म्याग्दे र बन्दीपुर गाउँपालिकालगायतले कृषकलाई विभिन्न उपकरण अनुदानमा वितरण गर्दै आएका छन्। कृषि पेसामा लागेका कृषकलाई आयआर्जनमा सहयोग पुग्ने खालका सामग्री वितरणलाई प्राथमिकतामा राखिएको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले बताए।
उनले भने, “निर्वाहमुखी पेसा गरिरहेकालाई सहयोग गरेर व्यावसायिक बनाउने लक्ष्यसहित केन्द्रले मौरीघार, हाते ट्र्याक्टर, बङ्गुरका पाठापाठी, व्याड बोका वितरण गर्दै आएको छ।”
केन्द्रले विपन्न वस्तीमा मुख्यमन्त्री कार्यक्रमअन्तर्गत ऋषिङ गाउँपालिका-४ भिरकोटका कृषकलाई कृषि सामग्री सहयोग गरेको छ। विपन्न समुदायलाई आत्मनिर्भर बनाउने उद्देश्यसहित १५ मौरीघार, ३० बङ्गुरको पाठापाठी, दुई व्याड बोका, एक हातेट्र्याक्टर, दुई पक्की टनेल, एक कुटानी पिसानी, १५ सिँचाइ ट्याङ्की, बाख्रा र कुखुराको खोर सहयोग गरिएको हो।
तिवारीले भने, “विपन्न कृषक छनोट गरी कार्यक्रममार्फत उनीहरुलाई आत्मनिर्भर बनाउने लक्ष्य हो।” यो ठाउँका ६० घरधुरीलाई लक्षित गरी कार्यक्रम सुरुआत भएको छ।
जिल्लाका दुई पालिकाका विपन्न बस्तीमा ‘मुख्यमन्त्री कार्यक्रम’ सञ्चालन गरिएको छ। आयआर्जनमा सबल गराई विपन्न परिवारको जीविकोपार्जनमा सहज बनाउने उद्देश्यले उक्त कार्यक्रम सुरु गरिएको तिवारीले बताए।
जिल्लाको आँबुखैरेनी गाउँपालिका-१ का ४० घर भुजेल र ऋषिङ गाउँपालिका-४ का करिब ६० घरधुरीलाई लक्षित गरी कार्यक्रम सुरु गरिएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ। आँबुखैरेनीमा ४६ परिवारमध्ये १६ जनालाई बाख्रा, छवटा तरकारी टनेल, ३५ घार मौरी, हातेट्र्याक्टरलगायत प्रदान गरिसकिएको छ।
गण्डकी प्रदेश सरकारबाट दुई पालिकाका लागि रु २०-२० लाख बजेट निकासा भएको छ। त्यसमा गण्डकी प्रदेश सरकारको ९० प्रतिशत अनुदान र कृषकको १० प्रतिशत लागत सहभागिता रहनेछ। केन्द्रले म्याग्दे-४ का कृषकलाई ९० प्रतिशत अनुदानमा मौरीसहितको घार वितरण गरेको छ। म्याग्दे गाउँपालिका–४ स्थित चण्डेश्वरी फलफूल तथा तरकारी उत्पादन समूहमा आबद्ध कृषकलाई ४६ मौरी घार वितरण गरिएको जनाइएको छ।
मौरीसहितको घार प्राप्ति गर्नका लागि केन्द्रले निवेदन माग गरेको थियो। एक सय छ जनाले निवेदन दिएकामा ४६ कृषक छनोट गरी घार वितरण गरिएको हो । तिवारीका अनुसार तनहुँ मौरीपालनका लागि उपयुक्त भएकाले यहाँका विभिन्न ठाउँमा मौरीपालनतर्फ कृषक आकर्षित भइरहेका छन्।
समूहमा आबद्ध कृषक मौरीपालनतर्फ आकर्षित भएको अध्यक्ष जीतमाया रानाले बताइन्। उनका अनुसार समूहमा आबद्ध सबैले मौरीपालन गरेका छन्। कम लगानी र मेहनतमा मौरीपालन गर्न सकिने भएकाले कृषक यसतर्फ लागेको उनले बताइन्।
आँबुखैरेनी गाउँपालिकाले एक वडाः एक उत्पादन कार्यक्रमअन्तर्गत कृषकलाई अनुदानमा एक सय १८ मौरी घार वितरण गरेको गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीले जानकारी दिए। उनले भने, “एक वडाः एक उत्पादनअन्तर्गत म्याग्दे गाउँपालिका-४ का कृषकलाई मौरीपालनतर्फ आकर्षित गराउन घार वितरण गरिएको छ।”
कृषि ज्ञान केन्द्रले नै शुक्लागण्डकी नगरपालिका-६ स्थित दरगाउँ कृषि तथा पशुपक्षी कृषक समूह र तीनखोलेदेवी कृषि तथा पशुपक्षी समूहलाई ५० प्रतिशत अनुदानमा हातेट्र्याक्टर र कम्बाइन मिल सहयोग गरेको छ।
म्याग्देले कृषकलाई ५० प्रतिशत अनुदानमा हातेट्र्याक्टर वितरण गरेको छ। पालिकाको कृषि शाखाको स्वीकृत कार्यक्रमअनुसार विभिन्न वडाका कृषकलाई अनुदानमा हातेट्र्याक्टर वितरण गरिएको हो।
रु ७० हजार पर्ने ट्र्याक्टरको मूल्यमा ५० प्रतिशत कृषकले र ५० प्रतिशत गाउँपालिकाले लागत साझेदारी गरेको छ। कृषकलाई कृषिमा आत्मनिर्भर बनाउन र यान्त्रिकीकरण गर्न कृषि उपकरण सहयोग गरिएको गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले जानकारी दिए। रासस |
ध्वजे डाँडामा २२ देशको झन्डा धनकुटा । पर्यटकलाई आकर्षित गर्न धनकुटाको साँगुरीगढी गाउँपालिका–५ स्थित ध्वजे डाँडामा सार्क राष्ट्रसहित विश्वका विभिन्न २२ देशको झन्डा राखिएको छ ।
गाउँपालिकाले आज एक कार्यक्रम गरेर अध्यक्ष जितेन्द्र रुम्दाली राईसहित २२ जना अतिथिबाट एकै साथ झन्डा फहराइएको छ ।
झन्डोत्तोलन गर्दै अध्यक्ष राईले पर्यटकहरूलाई आफ्नो देशको झन्डामार्फत आकर्षित गरेर पर्यटन प्रवर्द्धन गर्न झन्डाहरू राखिएको जानकारी दिए ।
आगामी दिनमा यस स्थानमा बाँकी भएका संसारका सबै देशका झन्डा पनि राखिने उनले जानकारी दिए ।
पर्यटन मन्त्रालयको रु पाँच लाख, गाउँपालिकाको एक लाख २५ हजार र जनसहभागितामा उक्त झन्डा राखिएको हो ।
सूर्योदय हेर्न र घरबास सेवा ९होमस्टे०का लागि प्रख्यात यो स्थान समुद्री सतहबाट दुई हजार एक सय मिटरको उचाइमा रहेको छ ।
पूर्वी नेपालका हिमाल, पहाड र तराईका दृश्यहरू हेर्न सकिने ध्वजे डाँडा पूर्वी नेपालको सीमाङ्कनमा अक्षांश र देशान्तर निर्धारण गर्नका लागि आधार मानिन्छ । |
कोशी प्रदेश मन्त्रिपरिषद् निर्णय : बाढी पहिराबाट मृत्यु भएका परिवारलाई एक लाख राहत विराटनगर । कोशी प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेशमा हालै आएको बाढी पहिरामा परी मृत्यु हुनेप्रति मृतकका परिवारलाई रु एक लाख र घाइतेलाई उपचारका रु ५० हजार राहतस्वरूप दिने निर्णय गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय विराटनगरमा बसेको बैठकले उक्त निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार महेन्द्र विष्टले जानकारी दिए । त्यसैगरी, बैठकले कोशी प्रदेश पुनःनामकरण सङ्घर्ष समितिसँग भएको वार्ता समितिको प्रशासनिक तथा व्यवस्थापकीय खर्च उपलब्ध गराउने निर्णय गरेको छ । |
तनहुँमा पहिरोले पुरिएर एकको मृत्यु, दुई जना घाइते तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका–१ माथिल्लो गुणादीमा सोमबार साँझ पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर दुई जना घाइते भएका छन् ।
मृत्यु हुनेमा जिल्ला झापा शिवशताक्षी नगरपालिका–७ का ३३ वर्षीय भीम भुजेल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । साँझ ४ बजेदेखि परेको वर्षाका कारण काम गरिरहेका मजदुर घाइते भएको प्रहरीको भनाइ छ । |
रोपाइँ गर्ने बेला खडेरी : सुक्न थाल्यो धानको ब्याड लुम्बिनी । एक महिनादेखि परेको खडेरीले किसानले रोपाइँ गर्न पाएका छैनन् । खडेरीका कारण चर्को गर्मी हुँदा जनजीवन कष्टकर बनेको छ । पानीको हाहाकार सुरु भएको छ, बोटबिरुवा सुकेका छन्, किसानका खेतमा धानको ब्याड राखेका ठाउँ पटपटी फुटेर धाँजा फाटेका छन् ।
मल, बीउ अभाव झेल्दै आएका किसानहरू बीउ राख्ने बेलादेखि रोपाइँ सुरु गर्ने बेलासम्म परेको लामो खडेरीले समयमा धान रोपाइँ नै प्रभावित हुनेमा चिन्तित बनेका छन् । तराईमा असार पहिलो सातादेखि रोपाइँ सुरु हुने भएकाले यतिबेला खेतमा ब्याड हरियो भइसक्ने थियो । तर समयमा वर्षा नहुँदा धानको बीउसमेत राख्न समस्या भएको किसानले बताएका छन् ।
असार सुरु हुँदासमेत पानी नपर्दा अधिकांश स्थानमा किसानहरूले बीउ राख्नसमेत पाएका छैनन । कतिपय राखिएका ब्याड पनि सुकेर सुर्ती मिच्ने जस्तै भएको रूपन्देही गैडहवा गाउँपालिका–७ का किसान आनन्दकुमार गुप्ता बताउँछन् । “रोपाइँ गर्नेबेला भयो तर धानको बीउ खेतमै सुकेर सुर्ती मिच्ने जस्तै भएको छ”, उनले भने, “मानिसले पिउने पानीको समेत हाहाकार हुनथाल्यो, रोपाइँ कसरी गर्ने ?”
लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालय, कृषि विकास निर्देशनालयका अनुसार लुम्बिनी प्रदेशका सिँचाइको सुविधा भएका क्षेत्रमा धानको बीउ राख्ने काम सकिएको र रोपाइँको तयारी सुरु भएको छ । तर सिँचाइको सुविधा उपलब्ध नभएका जिल्लाहरूमा समयमा वर्षा नहुँदा बीउसमेत राख्न नपाएको र छरेको बीउ ब्याडमै सुक्ने अवस्था आएको छ ।
निर्देशनालयका सूचना अधिकारी, कृषि अर्थविज्ञ डिल्लीराज पौडेल लुम्बिनी प्रदेशका १२ जिल्लामा तीन लाख २० हजार हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको बताउँछन् । यसमध्ये तराईका छ जिल्लामा मात्र ८८ प्रतिशत र बाँकी पहाडी जिल्लामा १२ प्रतिशतमा धानखेती हुने गरेको छ । प्रदेशका अधिकांश जिल्लामा पर्याप्त सिँचाइको व्यवस्था नहुँदा धानखेतीका लागि आकाशे पानीकै भर पर्नुपर्ने अवस्था रहेको छ । असारको पहिलो सातादेखि धान रोपाइँ सुरु हुने भए पनि यस वर्ष वर्षा नहुँदा रोपाइँ सुरु हुन सकेको छैन ।
लुम्बिनी प्रदेशमा धानखेती हुने क्षेत्रमध्ये ५७ दशमलव ०७ प्रतिशत भूभागमा पर्याप्त सिँचाइको व्यवस्था रहेको सूचना अधिकारी पौडेल बताउँछन् । सिँचाइको सुविधा नभएका भूभागमा खेतीका लागि आकाशे पानीकै भर पर्नुपर्ने भएकाले यस वर्ष रोपाइँ ढिला सुरु हुने अवस्था रहेको उनको भनाइ छ ।
रूपन्देही तिलोत्तमाका कृषक पुरन क्षेत्री जेनतेन बोरिङको पानीले धानको ब्याड राखे पनि रोपाइँ गर्न भने आकाशको पानी कुरेर बसेको बताउँछन् । उनले असारको पहिलो साता बितिसक्दा पनि पानी नपर्दा धेरै किसानलाई निराश बनाएको बताउँछन् । “बीउ त छरियो, ब्याड जोगाउन दिनदिनै बोरिङ चलाएर पानी हाल्नुपर्छ”, उनले भनेयो, “रोपाइँ गर्न बोरिङको पानीले पुग्दैन, आकाशको पानीमा भर पर्नुपर्छ ।”
लुम्बिनी प्रदेशमा धान उत्पादन हुने मुख्य तराईका जिल्लामध्ये पश्चिम नवलपरासीमा गण्डक नहरको सिँचाइ हुने केही क्षेत्रमा रोपाइँ सुरु भएको तर आकाशे पानीको भर पर्नुपर्ने क्षेत्रमा भने खडेरीले खेतीपातीमा प्रभाव पारेको कृषि ज्ञानकेन्द्र पश्चिम नवलपरासीका सूचना अधिकारी समिरसिंह बराइ मगर बताउँछन् । पश्चिम नवलपरासीमा २१ हजार एक सय ७५ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको र हालसम्ममा पाँच प्रतिशत क्षेत्रफल जमिनमा रोपाइँ भइसकेको सूचना अधिकारी मगर बताउँछन् । जिल्लामा कूल खेतियोग्य जमिनको ७० प्रतिशत भूभागमा सिँचाइको सुविधा उपलब्ध छ ।
धानखेतीमा राम्रो उत्पादन हुने जिल्ला मानिएको दाङ जिल्लामा समयमा वर्षा नहुँदा रोपाइँमा असर परेको छ । जिल्लाको कूल खेतीयोग्य ६५ हजार नौ सय ८० हेक्टर क्षेत्रफलमध्ये ३९ हजार चार सय हेक्टर क्षेत्रमा बर्सेनि धानखेती हुन्छ । तर यसवर्ष अहिलेसम्म करिब ९१ हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ गरिएको कृषि ज्ञानकेन्द्र दाङका सूचना अधिकारी कृषि अर्थविज्ञ पृथ्वीराज लामिछाने बताउँछन् ।
जिल्लामा कूल खेतीयोग्य जमिनको ३० प्रतिशत १९ हजार छ सय ८७ हेक्टर जमिनमा सिँचाइ सुविधा रहेको छ । यससँगै १९ हजार दुई सय ६१ हेक्टर जमिनमा आंशिक सिँचाइको सुविधा रहेको र करिब १० प्रतिशत जमिनमा आकाशे पानीको भर पर्नुपर्ने अवस्था रहेको सूचना अधिकारी लामिछानेले जानकारी दिए । रासस |
बाढीपहिरो प्रभावितको उद्धार, राहत र पुनःस्थापना उच्च प्राथमिकतामा छ : प्रधानमन्त्री दाहाल काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढीपहिरो प्रभावितको तत्काल उद्धार, राहत र पुनःस्थापनालाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् ।
बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्ने क्रममा आज सङ्खुवासभा आइपुग्नुभएका प्रधानमन्त्री दाहालले युद्धस्तरमै प्रभावित नागरिकको व्यवस्थापनको काम भइरहेको बताए । तुम्लिङटार विमानस्थलमा सञ्चारकर्मीसँग सङ्क्षिप्त कुरा गर्दै उनले बाढीपहिरोमा परी बेपत्ता भएकाको खोजी, प्रभावितको उद्धार र स्थानान्तरणका लागि मातहतका निकायले काम थालिसकेको बताए ।
प्रधानमन्त्री दाहालले बाढीपहिरो प्रभावित र विस्थापितलाई पुनःस्थापना गर्ने, घरबारविहीनको तत्काल स्थानान्तरण र आवासको व्यवस्था मिलाइने बताए । बाढीले बगाएका पक्की पुलमा तत्कालै ‘बेलिब्रिज’ राखेर आवतजावतलाई सहज बनाइने उनको भनाइ छ ।
बाढीपहिरो प्रभावित क्षेत्र अनुगमन गर्न प्रधानमन्त्री दाहाल, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र सहरी विकासमन्त्री सीता गुरुङ हेलिकप्टरमार्फत सङ्खुवासभा आएका हुन् । यस्तै सांसद दीपक खड्का, योगेशकुमार भट्टराई, वसन्त नेम्वाङ र कोशी प्रदेशसभा सदस्य राजेन्द्र कार्की पनि बाढी प्रभावित क्षेत्रमा पुगेका छन् ।
शनिबार राति वर्षासँगै आएको बाढीले बगाउँदा जिल्लाका विभिन्न स्थानका २१ जना बेपत्ता र एक जनाको मृत्यु भएको छ । बाढीमा परी चैनपुर नगरपालिका–४ मा निर्माणाधीन सुपर हेवा जलविद्युत् आयोजनाका १७ मजदुर बेपत्ता भएका छन् । उनीहरुको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ । |
पाँचथर पहिरो : १२ जनाको हेलिकोप्टरबाट उद्धार पाँचथर। पाँचथरको याङवरक गाउँपालिका–१ फेदीमा पहिरोमा फसेका १२ जनाको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ। उनीहरुलाई उद्धार गरी स्थानीय विष्णु माध्यमिक विद्यालयमा राखिएको छ।
प्रहरी नायव उपरीक्षक हरि खतिवडाका अनुसार १२ जना शनिबार रातिदेखि पहिरोमा फसेका थिए। घर रहेको स्थानको चारैतर्फ पहिरो आए पछि उनीहरु सुरक्षित स्थानमा जान सकेका थिएनन्। पीडित रातिदेखि नै उद्धारको पर्खाइमा थिए।
हेलिकोप्टरमा उद्धार गरिएकाहरुमा ६० वर्षीया नरमाया गुरूङ, १६ वर्षीय सन्दीप गुरूङ, नौ वर्षीया हिमा गुरूङ, ८० वर्षीय कृष्णबहादुर गुरूङ, ६० वर्षीया डिकमाया गुरूङ, ३५ वर्षीय काजुहाङ गुरूङ, ३० वर्षीया सुनिता गुरूङ, ४३ वर्षीय मनबहादुर गुरूङ, ४४ वर्षीया मनकुमारी गुरूङ, १६ वर्षीया सुष्मा गुरूङ, ७० वर्षीय पदमबहादुर खालिङ र ६८ वर्षीया मनमाया खालिङ छन्। उनीहरुलाई विद्यालयमा अस्थायी आश्रयस्थल बनाएर राखिएको डिएसपी खतिवडाले जानकारी दिए। – रासस |
बाढी पहिरोको प्रभावित क्षेत्रमा हेलिकप्टरमार्फत प्रधानमन्त्रीसहितकाे टाेली निरीक्षणमा (तस्वीरहरू) काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ठूलाे जनधनकाे क्षति पुर्याउँदै आएको पूर्वी पहाडी जिल्लाको बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेका छन्।
प्रधानमन्त्री दाहालसहित उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र सहरी विकासमन्त्री सीता गुरुङ तथा प्रभावित क्षेत्रका जनप्रतिनिधिहरु योगेश भट्टराई, बसन्त नेम्वाङ, दप्पक खड्का, राजेन्द्र कार्की (कोशी प्रदेशसभा) बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेका हुन्।
नेपाली सेनाको हेलिकप्टरमार्फत उनीहरुले प्रभावित क्षेत्रको अवलोकन गर्नेछन्। साथै सो टोलीमा नेपाली सेनाका प्रधानसेनापी, गृह मन्त्रालयका बिपत हेर्ने प्राविधिक इन्जिनियर र प्रधानमन्त्री कार्यालयका विपत हेर्ने अधिकृत पनि सहभागी रहेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री प्रचण्डको निर्देशनमा प्रभावित क्षेत्रमा नेपाली सेनाको हेलिकप्टरमार्फत उद्दारको काम जारी छ। बाढी र पहिरोमा फसेकालाई उद्दार गरिएको छ भने सोमबार नै भौतिक पूर्वाधार मन्त्रालयद्वारा केन्द्रीय सडक संजालबाट अलगावमा परेका पाचथर र ताप्लेजुङलाई जोड्न बेलिबृजको सामान प्रभावित क्षेत्रमा पठाइएको सचिवालयले जनाएको छ।
गत शनिबारयता परेको अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण पूर्वी नेपालमा ८ जनाको मृत्यु भएको छ भने २८ जना बेपत्ता भएका छन्। प्रहरीका अनुसार तीन जना महिला र २५ जना पुरुष बेपत्ता भएका हुन्।
संखुवासभामा १८ जना बेपत्ता छन्। पाँचथरमा तीन, ताप्लेजुङमा तीन, भोजपुरमा दुई जना बेत्तपा भएका छन्। उनीहरूको खोजी कार्य भइरहेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । पाँचथरमा १२ वटा पुलमा क्षति पुगेको छ भने मेची राजमार्ग अवरुद्ध भएको छ।
|
ठेक्काको आठ वर्षपछि कालोपत्रको तयारी काठमाडौँ। जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक विस्तार सुरु भएको आठ वर्षपछि कालोपत्र गर्न तयारी सुरु गरिएको छ। ठेक्का भएको आठ वर्षपछि वर्षायाममा कालोपत्र गर्न सुरु गरेपछि सडक कति गुणस्तरीय होला भन्नेमा स्थानीय चिन्तित छन्। लामो समयसम्म पनि सडक कालोपत्र नहुँदा खाल्डाखुल्डीका कारण दैनिक सवारी सञ्चालनमा समस्या हुने गरेको छ।
मनसुन सुरु भएसँगै दैनिक पानी पर्ने याममा गोकर्णेश्वर नगरपालिका–१ नयाँपाटी पुल क्षेत्रमा कालोपत्रका लागि अलकत्रा हालिएको छ। शनिबार बेलुका निर्माण व्यवसायीले अलकत्रा हालेपछि ठूलो पानी पर्यो र अलकत्रा बगायो। सडक दायाँबायाँ अझै धेरै ठाउँमा काम बाँकी छ।
“काम बाँकी भएका स्थानका सडकमा खाल्डाखुल्डी धेरै छन्। वर्षाको समयमा खाल्डाखुल्डीमा जमेको फोहर पानीका कारण आवागमनमा सास्ती हुने गरेको छ”, गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता नारायणबहादुर सुवेदीले भने। संघीय सरकारले आयोजनाको ठेक्का सम्झौता गरेकाले निर्माण व्यवसायीले स्थानीय सरकारलाई नटेर्दा सडक जीर्ण बन्दै गएको उनको भनाइ थियो।
आर्थिक वर्ष २०७५/२०७६ मा सक्ने गरी विसं २०७२ मा ठेक्का भएको सात किमी सडक आठ वर्षदेखि अलपत्र छ। सुरुमा सडकको दायाँबायाँ घर भएका स्थानीयले मुआब्जा नदिई काम अघि बढाउन नदिने भनी विरोध गरेपछि सडक विस्तारको काम रोकिएको थियो। केन्द्रविन्दुबाट दायाँबायाँ ११/११ मिटर गरी २२ मिटरको सडक बनाउने ठेक्का काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले गरेको थियो।
सात किमीको दूरीमा पर्ने करिब नौ सय घरधनीले ठेक्का अनुसार सडक विस्तार गर्ने भए मुआब्जा दिनुपर्ने माग गरेपछि काम अगाडि बढ्न सकेको थिएन। गोकर्णेश्वर नगरपालिकाको नेतृत्वमा घर भएको स्थानमा दायाँबायाँ सात/सात मिटर र सार्वजनिक जग्गा भएका स्थानमा ११/११ मिटर सडक विस्तार गर्ने सहमति भएको थियो। उक्त सहमति भएको पनि चार वर्ष बितेको छ। लामो समयदेखि सडक अलपत्र बन्दा वर्षौँदेखि यात्रु पीडित भएका छन्।
अधिकांश स्थानमा सडक विस्तारको काम सकिए पनि केही ठाउँमा रोकिएकाले वर्षाको समयमा पानी पर्दा आवागमनमा सास्ती हुने गरेको स्थानीयको गुनासो छ। अत्तरखेलमा सडक छेउमै किराना पसल चलाउँदै आएका समुद्र श्रेष्ठले वर्षाद्मा हिलो र हिउँदमा धुलो खाएर स्वास्थ्यमा समस्या आउन थालेको बताए। पानी पर्न थालेपछि हिलो र हिलो सुकेपछि धुलोले समस्या हुने गरेको उनले बताए।
निर्धारित समयमा सडक स्तरोन्नतिको काम नसकिएपछि आर्थिक वर्ष २०७६/७७ मा सक्ने गरी म्याद थपिएको थियो। पटक–पटक समय थप गर्दा पनि काम सकिएको छैन। नगरपालिकाका प्रवक्ता सुवेदीका अनुसार रू ५८ करोड लागतमा सडक विस्तारको काम थालिएको थियो।
विभिन्न प्राविधिक समस्याका कारण काममा ढिलाइ हुने गरेको निर्माण कम्पनीको भनाइ छ। “सडक विस्तारको काम अगाडि बढाउने सन्दर्भमा ठेकेदार कम्पनीसँग प्रतिक्रियाका लागि सम्पर्क गर्दा आयोजनाका अधिकारी सम्पर्कमा आउँदैनन्”, उनले भने, “केन्द्रीय सरकारको ठेक्का भएकाले स्थानीय सरकारले भन्दा निर्माण व्यवसायीले अटेर गर्ने गरेका छन्।”
कोरोना महामारीका समयमा भएको बन्दाबन्दीका समयमा निर्माणाधीन सडकमा पर्ने रुख हटाए पनि कतिपय स्थानमा विद्युत्को पोल, तारलगायत संरचना नहटेकाले सडक विस्तारको काम प्रभाविच भएको निर्माण कम्पनीले जनाएको छ।
सडकको काम नसकिँदा यसवर्ष पनि वर्षाद्का समयमा हिलो र हिउँदमा धुलोमा यात्रा गर्नुपर्ने बाध्यता रहनेमा चिन्ता लागेको स्थानीय सीमा तामाङले गुनासो गरिन्। “ निर्माणको ठेक्का पाएको सिएम कन्स्ट्रक्सनले एक दिन काम गरेर महिना दिनसम्म केही नगर्ने गरेको देखिएको छ”, उनले भनिन्।
वर्षाको समयमा हिलो र धुलोका समस्या समाधानका लागि ग्राभेल हालेर डोजर र रोलरले सम्याउँदै काम गर्न ठेकेदार कम्पनीलाई दबाब दिँदै आएको नगरपालिकाले जनाएको छ।
“गोकर्णेश्वरस्थित महादेव मन्दिरअघिको सडक कालोपत्र भएको केही दिनमै भत्कियो। केही महिनापछि भत्किएको स्थानमा टालिए पनि खाल्डाखुल्डी छन्”, तामाङले बताइन्। कति ठाउँमा बीचमा कालोपत्र गरिए पनि दायाँबायाँ भने पर्खाल लगाएर सडक यत्तिकै छोडिएका उनको भनाइ थियो।
सडक बनेर कालोपत्र भएका स्थानमा पनि पैदलमार्ग निर्माण भएका छैनन्। पैदलमार्ग नहुँदा पैदल यात्रा गर्ने यात्रु सडक दुर्घटनामा पर्ने सम्भावना बढेको स्थानीयको भनाइ छ। यसतर्फ सरोकारवाला निकायका अधिकारीको ध्यान जान नसकेको स्थानीयको गुनासो छ।
सडक विस्तार भएका चन्द्रमती, सूर्यमती, कोलमती, जम्बोत्तरीलगायत नदीमाथि अझै पुल बिस्तार हुन नसक्दा सवारी जाममा पर्ने गरेका छन्। सडक विस्तारका लागि ठेक्का गर्ने काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले पुल निर्माणका लागि अझै ठेक्का सम्झौता नगरिएको जनाएको छ। |
पूर्वमन्त्री पोखरेल अस्पताल भर्ना महोत्तरी। पूर्वशिक्षा मन्त्री गिरिराजमणि पोखरेल अस्वस्थ भएर अस्पताल भर्ना भएका छन्।
एक्कासी ज्वरो र झाडापखाला लागेपछी साेमबार बिहान उनी महोत्तरीस्थित जनसेवा अस्पतालमा भर्ना भएका हुन्।
`सुरुमा उहाँ आउदा निक्कै ज्वरो आएको थियो,´ उपचारमा खटिएका चिकित्सक गणेश श्रेष्ठले भने, `अन्य के भएको भन्ने विषयमा हामीले चेकजाँच गरिरहेका छौँ।´ |
पहिरोबाट बच्न अढाई वर्षकी छोरीसहित एक परिवार पाँच दिनदेखि ओढारमा ताप्लेजुङ। ताप्लेजुङको सिदिङ्वा गाउँपालिका– ७ सुरुम्खिमका २८ वर्षीय डेनिस गुरुङ र २१ वर्षीया अनिता राई (गुरुङ) अढाइ वर्षकी छोरी च्यापेर पाँच दिनदेखि गाउँबस्तीभन्दा टाढाको ओढारमा बस्दै आएका छन्। सधै बस्दै आएको याक्सा (गोठ) नजिकै अविरल वर्षासँगै पहिरो गएपछि गाउँबस्तीतर्फ आउन नक्दा ओढारमा गएर आश्रय लिएका हुन्।
गाउँको घरबाट एक दिनको पैदल दूरीमा रहेको गोठबाट फर्किन तीन वटा खोला वर्षाका कारण तर्न मुस्किल भएकाले ओढारमै बस्नुपर्ने बाध्यता भएको डेनिसकी आमा चेतमाया गुरुङले बताइन्।
‘‘नानीहरु पाँच दिनदेखि ओढारमै छन्, गाउँमा आउने अवस्था छैन, हिजोसम्म फोन लाग्दैथियो, हामी सुरक्षित भएर ओढारमा छौँ भन्दै थिए, आज नेटवर्क नभएर होकी फोन सम्पर्क भएको छैन, गोठका २५ वटा बाख्रा पनि पहिरोले बगाएछ, न यताबाट जान सकिन्छ, नत उताबाट आउने उपाय छ, कसरी उद्धार गर्ने भन्ने चिन्ता छ”, चेतमायाले फोनमा भनिन्।
पहिरोले २५ वटा बाख्रासहित खोर नै बगाएको छ भने बस्दै आएको याक्सा पनि जोखिममा परेको छ। आलुखेतीसमेत पहिरोले बगाएको उनीले बताइन्। घरतर्फ आउन विभिन्न तीन वटा खोला खोल्सा तर्नुपर्छ। तीनवटै खोलाका पुल बाढीले बगाएको छ। पाङ्दा, कुङ्लिङ र तावा खोला तरेर आउनुपर्ने भएकाले समस्या भएको हो। अर्कातर्फ अत्यधिक वर्षा भइरहेकाले पनि घर आइपुग्न मुस्किल हुने चेतमायाको भनाइ थियोे।
वर्षासँगै याक्सा आसपासमा पहिरो जान थालेपछि ओढ्ने ओछ्याउनेसहित सामान बोकेर डेनिस परिवार ओढारमा गएका थिए। बेलाबेलामा खानेकुरा ओसारपसार गर्नुपर्ने हुँदा भएको खानेकुरा सकिनै लागेको बताउने उनीहरुसँग आज भने फोन सम्पर्क नभएको चेतमायाको भनाइ थियो। शनिबार उद्धारका लागि बुरुम्खिमबाट तीन जनाको टोली पठाउने तयारी भए पनि वर्षाका कारण उक्त टोली जानसकेन।
उद्धारमा समस्या भएकाले सहयोग पुर्याउन डेनिस परिवारले आग्रहसमेत गरेका छन्।
हेलिकप्टरको पर्खाइमा :
यता बिहान गएको पहिरोमा परी घाइते भएका मेहेलेका राजकुमार राईलाई उपचारका लागि अन्यत्र लैजान छरछिमेक तथा आफन्त हेलिकप्टर कुरेर बसेका छन्। घाइते भएका राजकुमारलाई घटनास्थलदेखि हेलिकोप्टर बस्ने स्थानसम्म झण्डै आधा घण्टाको दुरीमा ल्याएर राखिएको छ। राईको उद्धारका लागि विराटनगरबाट हेलिकप्टर छुटेको बताइएको छ।
बिहानैदेखि हेलिकप्टर आउने चर्चा चले पनि समयमै उक्त स्थानमा पुगेको छैन। प्रतिकुल मौसमका कारण पनि बिहानै उद्धार गर्न नसकिएको जनाइएको छ। राजकुमारसँगै पहिरोमा परेका सुरेश राईको निधन भएको छ भने बेपत्ता केशरबहादुर राईको शव फेला परेको छ। – रासस |
जीवन निर्वाहको मुख्य आधार हाटबजार बुटवल। बुटवल उपमहानगरपालिका कार्यालय अगाडि हाटबजारमा विगत चार दशकदेखि तरकारी र फलफूलको व्यापार गर्दै आएकी ७६ वर्षीया नानी गुरुङको जीविकोपार्जनको प्रमुख आधार हाटबजार बनेको छ।
बुटवलको चिडियाखोला सुकुम्बासी टोलकी वृद्धा उनीको घरमा अन्य सहारा कोही पनि छैनन्। सोह्र वर्षको कलिलो उमेरमा उनको आफूभन्दा दुई वर्ष जेठा गोपाल ठकुरीसँग विवाह भयो। भारतीय सेनामा कार्यरत पति निवृत्त भएर स्वदेश फर्केपछि बुटवलमा मजदुरी गर्दा गर्दै क्षयरोगले थलिएर निधन भयो।
हाटबजारमा आफ्नै प्रदर्शनीकक्ष अगाडि रहेको तत्कालीन बुटवल नगरपालिकाको भवन देखाउँदै पतिको मृत्युपछि त्यही भवन बनाउने काममा मजदुरी गरेर जीवन निर्वाह गरेको बताउँछिन्। उमेर ढल्किँदै गएपछि श्रमिकको काम गर्न नसक्ने अवस्था भएपछि एकमात्र छोरी निरुको आग्रहमा हाटबजारमा हरियो तरकारीको व्यवसाय सुरु गरेको बताइन्। हरेक हप्ता लाग्ने हाटबजारमा चार दशकअघि आमा छोरीले सुरु गरेको व्यवसायमा हरियो तरकारी, टिम्मुर, सिद्रा माछा, सिन्कीजस्ता मौसमअनुसारको व्यापार गर्दै आएको उनी बताउँछिन्।
आफू २३ वर्षको हुँदा छोरी जन्मिएकी छोरी मात्र एक सन्तानका रुपमा नाति रहेको बताउँछिन्। “नाबालक टुहुरो नाति म सँगै बस्थ्यो अहिले रोजगारीका लागि विदेश गएको दुई महिना भयो”, उनले भनिन्, “नातिनीहरु भने विवाह भएर आ–आफ्नो घरमा छन्, म भने हरेक दिन बिहान हाटबजार आउँछु बिहानको खाना होटेलमै खान्छु, साँझको खाना भने माइली नातिनीले ल्याइ दिन्छन् ।” अहिले आफ्नो सहारा भनेकै नातिनीहरु रहेको उनी बताउँछिन्।
हरेक शनिबार र बुधबार बुटवलमा लाग्ने यो हाटबजारमा जीवन गुजार्न केही व्यापार पनि हुने र समय कटाउन पनि सहज हुने भएकाले नियमितजसो आउने गरेको उनी बताउँछिन्। “घरमा बस्न, दिन कटाउन गाह्रो हुन्छ, यहाँ आएपछि दिदी बहिनीसंँग कुराकानी गरेर दिन कट्छु”, उनले भनिन्, “व्यापार गर्ने दिदीबहिनीले पनि बजारको दिन एक दिन नआउँदा बजै किन आउनुभएन भनेर सोधीखोजी गरेर बोलाउने गर्दछन्।”
बुटवल उपमहानगरपालिका–११ मजुवा घर भएकी मन्दिरा गौचन उमेरले सात दशक पार गरिन्। उनको जीवन निर्वाहको मुख्य आधार पनि यही हाटबजार बनेको छ। उनले विगत २५ वर्षदेखि हाटबजारमा हरियो तरकारी र सालको पातजस्ता दैनिक उपभोग्य वस्तुको व्यापार गर्दै त्यसैको आम्दानीबाट घर व्यवहार चलाउँदै आएको बताउँछिन्।
उनको एक छोरी र एक छोरा छन् दम र मुटुको बिरामी वृद्धा गौचनका श्रीमानको पनि चार वर्षअघि दम र मुटुको बिरामीले थलिएर मृत्यु भएको बताउँछिन्। वृद्धा गौचनको कमाइको मुख्य आधार नै हाटबजार हो। बुटवलको उपमहानगरपालिका–११ मजुवामा बस्दै आएकी ५२ वर्षीया कल्पना क्षेत्रीका पति १२ वर्ष पहिले भारतमा कमाउन गएका अहिलेसम्म फर्केका छैनन्।
चार सन्तानकी आमा क्षेत्रीको पढ्दै गरेको छोरो पनि बीचमै पढाइ छाडेर दुई वर्षअघि कमाउन भारत पसेको छोरोको पनि अहिलेसम्म कुनै पत्तो छैन। दैनिक जीवन चलाउने विकल्प नभएपछि हाटबजारमा कहिले सालको पात, कहिले हरियो मकै, कहिले हरियो साग र तरकारी बेचेर गुजारा चलाइराखेको उनी बताउँछिन्। “पहिला अलि व्यापार हुन्थ्यो, दिनमा रु दुई हजारसम्म बचत हुन्थ्यो। अहिले दिनमा रु चारदेखि पाँच सय मात्र बचत हुन्छ”, उनले भनिन्।
बुटवलको मुख्य बजार क्षेत्र बुटवल उपमहानगरपालिका–४ मा साताको दुई दिन लाग्ने हाटबजारमा व्यवसायीले बजार लगाउने गर्छन्। यहाँको बजारमा झण्डै तीन हजार बढीले प्रत्येक बजारमा व्यवसाय गर्दै आएका छन्। रुपन्देही जिल्लामा लाग्ने यस्ता हाट बजारमा प्रत्यक्ष अप्रत्यक्ष ५० हजार मानिसले रोजगारी पाएको हाट बजार व्यवसायी संघ रुपन्देहीका अध्यक्ष टेकबहादुर जिसी बताउँछन्।
यी हाट बजारमा आमसर्वसाधारणलाई दैनिकरुपमा आवश्यक पर्ने उपभोग्य सामान किनमेल हुने गर्छ। तरकारी, फलफूल, खाद्यान्न, खसीबोका, कुखुरा, हाँस, परेवा, माछामासु, कपडाजस्ता वस्तु हाटबजारमा खरिद गर्न आउनेको भीड लाग्ने गरेको अध्यक्ष जिसी बताउँछन्। यी बजारमा मौसमअनुसारका कृषि उत्पादन ग्रामीण क्षेत्रबाट किसानले आफैँ बजारसम्म ल्याएर बिक्री गर्ने गरेको उनी बताउँछन्।
हाटबजारमा मंसिरदेखि वैशाखसम्म अधिकांश नेपाली कृषि उत्पादनले नै धान्ने गरेको र वर्षायाममा भारतीय उत्पादन खपत हुने गरेका छन्। स्थानीय पालिकाले आफ्नो क्षेत्र ठेक्का प्रक्रियाबाट हाटबजार सञ्चालन गर्दै आएका छन्। यसबापत स्थानीय पालिकाले व्यवसायीबाट बैठकी करस्वरुप प्रतिस्टल रु ५० देखि दुई सयसम्म लिने गरेको अध्यक्ष जिसी बताउँछन् तर व्यापार नहुँदाकोे अवस्थामा राज्यका निकायलाई बुझाउनुपर्ने विभिन्न कारले व्यवसायीलाई मर्का परेको उनको गुनासो छ।
वर्षौंदेखि हाटबजारमा व्यवसाय गरेर जीविकोपार्जन गर्दै आएका वृद्धवृद्धा, असक्त र विभिन्न समुदायका व्यवसायीका लागि हाटबजार व्यवसायी संघले लिने सेवा शुल्कमा केही छुटको व्यवस्था गरेको छ तर व्यवसाय गरेबापत राज्यका निकायलाई तिर्ने करमा कुनै सुविधा नभएको अध्यक्ष जिसी बताउँछन्। “हामीले यस्ता समूहका व्यवसायीलाई कुनै न कुनै हिसाबले सुविधा उपलब्ध गराउन स्थानीय पालिकालाई पटक पटक भन्यौँ”, उनले भने, “हाम्रो मागको सुनुवाइ कही कसैले पनि गरेन।”
बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्याल बुटवल क्षेत्रभित्रका सम्पूर्ण हाटबजारलाई योजनाका साथ व्यवस्थित गर्न थालिएको बताउँछिन्। उनले अहिले बुटवलको हाटबजारलाई केही व्यवस्थित गर्ने कार्यको सुरुआत भएको अन्य बजारलाई पनि व्यवसायीसँग सल्लाह गरेर अगाडि बढ्ने योजनामा रहेको बताइन्।
उनले लामो समयदेखि हाटबजारमा व्यवसाय गर्दै आएका महिला तथा वृद्धवृद्धालाई तत्काल कुनै सुविधाको केही व्यवस्था नभए पनि अबको बजेटमा केही गर्न सकिन्छ कि भन्ने सोचमा रहेको बताउँछन्। |
अपडेट : पहिरोमा परी बेपत्ता केशरको शव भेटियो, घाइते सुरेशको मृत्यु ताप्लेजुङ। ताप्लेजुङको सिदिङवा गाउँपालिका–६ मेहेलेमा आज बिहान गएको पहिरोमा परी बेपत्ता भएका केशरबहादुर राईको शव फेला परेको छ। साथै सोही पहिरोमा परी घाइते भएका सुरेश राईको निधन भएको छ।
स्थानीय कला कडरियाका अनुसार घाइते भएका राजकुमार राईको अवस्था गम्भीर छ। उनलाई हेलिकोप्टरमार्फत उपचारका लागि अन्यत्रै लैजाने तयारी भइरहेको छ।
पहिरोका कारण आफू बस्ने घर जोखिममा भएपछि गाडी अन्यत्रै सार्ने तयारीका क्रममा अचानक खसेको पहिरोले तीन जना पुरिएका थिए। जसमध्ये सुरेश र राजकुमारको तत्काल उद्धार गरिएको थियो भने केशरबहादुर बेपत्ता भएका थिए।
मेहेलेकाको अधिकांश क्षेत्र पहिरोको उच्च जोखिममा छन्। मेहेलेमा शनिबार गएको पहिरोमा परी तीन जना अझै बेपत्ता छन् भने एक जनाको शव भेटिएको छ। मेहेलेमा पहिरोले ६ घरलाई बगाएको छ। – रासस |
पहिरोमा परेर छोराको मृत्यु, बाबु बेपत्ता फुङ्लिङ। ताप्लेजुङको सिदिङवा गाउँपालिका-६ मेहेलेमा पहिरोमा परी एकै परिवारका छोराको मृत्यु भएको छ भने बाबु बेपत्ता भएका छन्। आज बिहान गएको पहिरोमा परी मेहेलेका ३६ वर्षीय सुरेश राईको मृत्यु भएको हो।
सुरेशका बाबु ६७ वर्षीय वृद्ध केशरबहादुर बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना समन्वय अधिकारी एवं प्रहरी निरीक्षक कुसराम कार्कीले मेहेलेको मुकुभञ्ज्याङमा गएको पहिरोमा परी राई परिवारका छोराको मृत्यु र बाबु बेपत्ता भएको जानकारी दिए ।
त्यस्तै सोही पहिरोमा परी ४५ वर्षीय राजकुमार राई गम्भिर घाइते भएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए।
वर्षाको क्रम निरन्तर रहेकाले बेपत्ता हुनेको खोजी कार्यमा समस्या भएको मेहेलेका स्थानीय कमल कडरियाले जानकारी दिए। उनका अनुसार पहिरोमा गम्भिर घाइते भएका राजकुमार राईलाई उपचारमा लैजानका लागिसमेत समस्या भइरहेको छ।
ओढारमा बसेका तीन जनाको सम्पर्क
ताप्लेजुङको सिदिङवामा बाढीले याक्सा बगाएर ओढारमा अलपत्र रहेका तीन जना अहिले सम्पर्कविहीन भएका छन्।
बाढी पहिरोका कारणले ओढारमा बसेका सिदिङवा गाउँपालिका–७ सुरुमखिमका २३ वर्षीय डेनिस गुरुङ, अनिता राई र उनीहरुका अढाइ वर्षकी छोरी सम्पर्कविहीन भएका हुन्।
निरन्तर वर्षासँगै बाढी पहिरोले उनीहरु बसेको याक्सा (गोठ) छेउमा पहिरो गएपछि ओढारमा बस्न परेको हो। गत सोमबार घरदेखि झन्डै एकदिनको पैदलमा रहेको गाग्रे भन्ने स्थानमा आलु खन्न र मकै गोड्न गएका थिए। बसेको याक्साको छेउबाट पहिरो गएपछि ओढारमा सरे बस्नुपरेको सिदिङवा गाउँपालिका-७ सुरुङखिका वडाध्यक्ष लक्ष्मण तामाङले बताए।
उनका अनुसार उनीहरु बसेको ओढारको तीनतिर खोला छन्। कुलिङ खोला, पाङदा खोला र तावा खोलाको बीचमा रहेकाले उद्धार गर्न जानसमेत समस्या रहेको वडाध्यक्षतामाङले जानकारी दिनएको छ।
उनले भने, “बाढीसँगै आएको खोला घटेको छैन। खोला तरेर जाने सम्भव छैन। पानी पर्र्र्र्र्र्र्र्र्र्र्र्न केही छिनमा रोक्ने केही छिमै पर्ने क्रम चलिरहेको छ।”
सुरुङखिम गाउँदेखि करिब चार घण्टा लाग्ने भएकाले खोला तरेर जना समस्या भएको तामाङको भनाइरहेको छ। आज पनि स्थानीय र प्रहरी उद्धारको लागि तयारी अवस्थामा रहे पनि खोला तरेर जान समस्या भएको अध्यक्ष तामाङले बताए।
उद्धारका लागि आइतबारे नेपाली सेनाको हेलिकप्टर ताप्लेजुङ आए पनि मौसम प्रतिकूलताका कारण उद्धार हुन सकेन। आज बिहान नेपाली सेनाको हेलिकप्टर काठमाडौँदेखि ताप्लेजुङ प्रस्थान गर्ने तयारी भइरहेको ताप्लेजुङबाट निर्वाचित सांसद योगेशकुमार भट्टराईले जनाकारी दिएका छन्। रासस |
पहिरोमा परेर छोराको मृत्यु, बाबु बेपत्ता फुङ्लिङ। ताप्लेजुङको सिदिङवा गाउँपालिका–६ मेहेलेमा पहिरोमा परी एकै परिवारका छोराको मृत्यु भएको छ भने बाबु बेपत्ता भएका छन्। आज बिहान गएको पहिरोमा परी मेहेलेका ३६ वर्षीय सुरेश राईको मृत्यु भएको हो। सुरेशका बाबु ६७ वर्षीय वृद्ध केशरबहादुर बेपत्ता भएका छन्।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना समन्वय अधिकारी एवं प्रहरी निरीक्षक कुसराम कार्कीले मेहेलेको मुकुभञ्ज्याङमा गएको पहिरोमा परी राई परिवारका छोराको मृत्यु र बाबु बेपत्ता भएको जानकारी दिए।
त्यस्तै सोही पहिरोमा परी ४५ वर्षीय राजकुमार राई गम्भिर घाइते भएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए। वर्षाको क्रम निरन्तर रहेकाले बेपत्ता हुनेको खोजी कार्यमा समस्या भएको मेहेलेका स्थानीय कमल कडरियाले जानकारी दिए। उनका अनुसार पहिरोमा गम्भिर घाइते हुनुभएका राजकुमार राईलाई उपचारमा लैजानका लागिसमेत समस्या भइरहेको छ।
ओढारमा बसेका तीन जना सम्पर्कविहीन
ताप्लेजुङको सिदिङवामा बाढीले याक्सा बगाएर ओढारमा अलपत्र रहेका तीन जना अहिले सम्पर्कविहीन भएका छन्। बाढी पहिरोका कारणले ओढारमा बसेका सिदिङवा गाउँपालिका–७ सुरुमखिमका २३ वर्षीय डेनिस गुरुङ, अनिता राई र उनीहरुका अढाइ वर्षकी छोरी सम्पर्कविहीन भएका हुन्।
निरन्तर वर्षासँगै बाढी पहिरोले उँहाहरु बसेको याक्सा (गोठ) छेउमा पहिरो गएपछि ओढारमा बस्न परेको हो। गत सोमबार घरदेखि झन्डै एकदिनको पैदलमा रहेको गाग्रे भन्ने स्थानमा आलु खन्न र मकै गोड्न गएका थिए। बसेको याक्साको छेउबाट पहिरो गएपछि ओढारमा बस्नुपरेको सिदिङवा गाउँपालिका–७ सुरुङखिका वडाध्यक्ष लक्ष्मण तामाङले बताए।
उनका अनुसार उनीहरु बसेको ओढारको तीनतिर खोला छन्। कुलिङ खोला, पाङदा खोला र तावा खोलाको बीचमा रहेकाले उद्धार गर्न जानसमेत समस्या रहेको वडाध्यक्ष तामाङले जानकारी दिए। उनले भने, “बाढीसँगै आएको खोला घटेको छैन । खोला तरेर जाने सम्भव छैन । पानी पर्र्र्र्र्र्र्र्र्र्र्र्न केही छिनमा रोक्ने केही छिमै पर्ने क्रम चलिरहेको छ।”
सुरुङखिम गाउँदेखि करिब चार घण्टा लाग्ने भएकाले खोला तरेर जना समस्या भएको तामाङको भनाइ रहेको छ। आज पनि स्थानीय र प्रहरी उद्धारको लागि तयारी अवस्थामा रहे पनि खोला तरेर जान समस्या भएको अध्यक्ष तामाङले बताए।
उद्धारका लागि आइतबार नेपाली सेनाको हेलिकप्टर ताप्लेजुङ आए पनि मौसम प्रतिकूलताका कारण उद्धार हुन सकेन। आज बिहान नेपाली सेनाको हेलिकप्टर काठमाडौँदेखि ताप्लेजुङ प्रस्थान गर्ने तयारी भइरहेको ताप्लेजुङबाट निर्वाचित सांसद योगेशकुमार भट्टराईले जनाकारी दिएका छन्। – रासस |
कर्णाली नदीमा जीप खस्यो सिमकोट। हुम्लाको उत्तरी नाम्खा गाउँपालिका-२ स्थित च्याछरा भिरबाट आज बिहान जीप कर्णाली नदीमा खसेको छ।
हुम्ला सदरमुकाम सिमकोटबाट हिल्सा जाँदै गरेको प्रदेश २, २२२६ नम्बरको जीप च्याछरास्थित कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक भीम भट्टराईले जानकारी दिए।
जीपमा चालकसहित १३ सवार थिए। जनकपुरका जीप चालक २५ वर्षीय राजेश लामा घाइते भएका छन्। उनको जिल्ला अस्पताल हुम्लामा उपचार भइरहेको छ।
हुम्लाको च्याछहरा भिरमा उकालो चढ्दै गरेको जीप भिरबाट कर्णाली नदीमा खसेको हो।
उक्त दुर्घटनामा चालक हाम फालेर बच्न सफल भएको तर उनी सख्त घाइते भएको प्रहरीले जनाएको छ। उकालोमा जीपमा सवार यात्रु ओर्लिएर चालक मात्रै गएका कारण अन्य मानवीय क्षति नभएको प्रनाउ भट्टराईले बताए। रासस |
बेसाहारा बालबालिका भर्ना गर्दैनन् सामुदायिक विद्यालय रत्ननगर। उद्धार गरिएका बाल श्रमिकलाई सामुदायिक विद्यालयले भर्ना लिन नमान्ने गरेका सरोकारवालाले बताएका छन्।
जिल्लाको विभिन्न स्थानबाट उद्धार गरिएका पूर्व बालश्रमिकलाई भरतपुरका सामुदायिक विद्यालयमा भर्ना गर्नै कठिन हुने गरेको बालबालिबाको क्षेत्रमा काम गर्दै आएका व्यक्तिले बताएका छन्। दियालो परिवार नारायणगढका कार्यकारी निर्देशक राजगोविन्द शिल्पकारले बजार क्षेत्रका सामुदायिक विद्यालयले पूर्व बालश्रमिकहरुको भनाइ गर्न नमान्ने गरेको बताए।
“उद्धार गरी ल्याएर बालगृहमा राखिएका बालबालिकाहरुलाई नारायणगढका सामुदायिक विद्यालयले भर्ना गर्नै मान्दैनन्” उनले भने, “यस्ता खालका विद्यार्थी हामी पढाउँदैनौँ भनेर विद्यालयका प्रधानाध्यापकले भन्ने गरेका छन्।” बालबालिकाको क्षेत्रमा काम गर्दै आएको दियालोले उद्धार गरेर बालगृहमा राखिएका बालबालिकालाई विद्यालय भर्ना गर्नै सकस हुने गरेको उनको गुनासो थियो।
“जोखिममा रहेका बालबालिकाको खबर दिन दश नौ आठमा फोन आउँछ, हामीले तत्काल उद्धारका लागि काम गर्छौं” उनले भने, “भरतपुर क्षेत्रमा रहेका बालगृहमा समेत त्यस्ता बालबालिका राख्न मान्दैनन्, हामीकहाँ क्षमताअनुसार बालबालिका छन्। अरु राख्ने अवस्था छैन भनेर भन्छन्”, जोखिममा रहेका बालबालिका उद्धार गरेपछि भरतपुरमा धेरै बालगृहमा राख्न नमान्ने गरेको भन्दै उनले केही दिन राखे पनि पुनः सकेनौँ भनेर फिर्ता गर्ने गरेका गुनासो गरे।
“हामीले उद्धार गरेका बालबालिकाको मनोसामाजिक परामर्श गर्छौँ, उनीहरुको परिवार खोज्छौँ । सकेसम्म पारीवारिक पुनर्मिलन गराउँछौँ”, उनले भने, “पारिवारिक पुनर्मिलन गराउन गाह्रो भएका बालबालिकालाई हामीले बालगृहमा राख्ने गरेका छौँ।”
दियालो परिवारमा रहेको बाल्प हेल्पलाइनले चितवनसँगै नवलपुुर, तनहुँ, लमजुङ, गोरखा र धादिङ हेर्ने गरेको कार्यकारी निर्देशक शिल्पकारले बताए। बाल हेल्प लाइनको ‘दश नौ आठ’ नम्बरमा देशभरबाट निःशुल्क फोन गरेर जोखिममा परेका बालबालिकाको जानकारी दिन सकिने उनको भनाइ छ। दियालो परिवारमा रहेको बाल हेल्पलाइनबाट यस वर्ष ५६ जना बालबालिकाको उद्धार गरिएको भन्दै उनले ४३ जना बालबालिका खोजतलासबाट फेला परेका जानकारी दिए।
दियालोले यस वर्षको जेठ मसान्तसम्म तीन सय छ जना बालबालिकालाई मनोसामाजिक मनोविमर्श सेवा प्रदान गर्दा ३३३ परिवारलाईसमेत मनोविमर्श सेवा प्रदान गरेको उनले तथ्यांक प्रस्तुत गरे। छत्तीस जना बालबालिकाको पारीवारिक पुनर्मिलन, २१ जनालाई स्थायी बालगृहमा पुनःस्थापना गरिएको उनको भनाइ छ।
संस्थाले ३ सय ६ जना बालबालिकालाई शैक्षिक सामग्री प्रदान, १९ जनाको स्वास्थ्योपचार, १७ जनालाई खाद्यान्न सहयोग, ५४ जनालाई आपतकालीन आश्रय प्रदान गर्नुका साथै सचेतनामूलक कार्यक्रम, श्रम शोषण हिंसा दुव्र्यवहारबाट उद्धार, सूचनामूलक सामग्री प्रचारप्रसार गरेको उनले बताए।
दियालो परिवार नारायणगढले आइतबार आयोजना गरेको कार्यक्रममा भरतपुर–१ की वडासदस्य राममाया पियाले सामुदायिक विद्यालयले बालबालिका पढाउँदिन भन्न नपाउने भन्दै कसैले भर्ना गर्न नमाने तुरुन्त वडामा खबर गर्न आग्रह गरिन्।
जोखिममा रहेका बालबालिका उद्धारका लागि आफू हरक्षण तयारी अवस्थामा रहने जनाउँदै पछिल्लो समय घरेलु बालश्रम अन्त्यजस्तै भएको उनले बताइन्। अझै पनि सार्वजनिक ठाउँमा बालश्रम भेटिने गरेको उल्लेख गर्दै उनले सबै प्रकारका बालश्रमको अन्त्य गर्न राज्यका साथै संघसंस्थाको सहयोग आवश्यक रहेको उनको भनाइ छ।
बाल अधिकारकर्मी रामचन्द्र आचार्यले अभिभावक भएका बालबालिकालाई बालगृहमा राख्न नमिल्ने बताए। अभिभावक, नजिकका नातेदार नभएको अवस्थाका बालबालिकालाई मात्रै बालगृहमा राख्न पाइने उल्लेख गर्दै १४ वर्षमुनिका बालबालिकालाई कुनै पनि प्रकारको श्रममा लगाउन नपाइने बताए।
चौधदेखि १८ वर्षसम्मका किशोरकिशोरीलाई दैनिक छ घण्टाभन्दा बढी श्रममा लगाउन नपाइने, तीन घण्टा काम गरेपछि आधा घण्टा विश्राम दिनुपर्ने, हप्तामा छ दिनमात्रै काम गराउनुपर्ने तर, पारिश्रमिक वयस्कलाई सरह दिनुपर्ने गरी कानुन बनेको उनको भनाइ छ।
कार्यक्रममा चितवन कवाड व्यवसायी संघका अध्यक्ष नारायणसिं गुरुङले बालबालिका श्रममा प्रयोग भइरहेका भन्दै पहिले उनीहरुको परिवारमा रोजगारीको सिर्जना गर्नुपर्ने बताए। त्यस्तै गैरसरकारी संस्था महासंघ नेपाल चितवनकी अध्यक्ष पार्वती घिमिरेले बालबालिकालाई पहिलो प्राथमिकतामा राखेर बजेट निर्माण गर्नुपर्ने बताए। संस्थाका पूर्वअध्यक्ष राजेन्द्रकुमार पियाले संस्थाले जोखिममा रहेका बालबालिकाको उद्धार र पारिवारिक पुनर्मिलनमा काम गरिरहेको भन्दै राज्यको विशेष भूमिका भएमात्रै बालश्रम न्यूनीकरण गर्न सकिने बताए।
कार्यक्रमका अध्यक्ष एवं दियालो परिवारका अध्यक्ष ईश्वरराज पण्डितले राज्यले बालबालिकाको जिम्मा लिनुपर्ने बताए। बालबालिकालाई दया र मायाको भावले हेर्नेभन्दा पनि संविधानले प्रदान गरेको अधिकार दिनुपर्ने पण्डितले बताए। अप्ठ्यारोमा रहेका बालबालिकालाई जोखिममुक्त बनाउन सबैको सहयोग आवश्यक पर्ने उनको भनाइ थियो। |
मर्मतको पन्ध्र दिनमै बिग्रियो ‘डायलासिस’ उपकरण दमौली। तनहुँको दमौली अस्पतालमा रहेको मिर्गौला उपचार केन्द्रको ‘डायलासिस’ उपकरण मर्मतको पन्ध्र दिनमै पुनः बिग्रिएको छ। यसअघि गत जेठ १५ गते मर्मत गरी सञ्चालनमा ल्याइएको पाँच उपकरण पुनः बिग्रिएको हो।
यसअगाडी वैशाखदेखि उक्त उपकरण बिग्रिएर बसेको थियो। राष्ट्रिय मिर्गौला उपचार केन्द्रका प्राविधिक आएर उपकरण मर्मत गरिदिए पनि फेरि समस्या आएको दमौली अस्पताल मिर्गौला केन्द्रका प्रमुख शैलेन्द्र पण्डितले जानकारी दिए।
उनले भने, “बल्ल बल्ल उपकरण बनेको थियो, फेरि समस्या आएर बिग्रियो। अहिले चार वटा मात्रै उपकरण सञ्चालनमा छ।” पाँच मर्मतसहित यसअघि नौ वटा उपकरण सञ्चालनमा रहेकामा अब चार वटा उपकरणबाट मात्रै सेवा प्रवाह भइरहेको केन्द्र प्रमुख पण्डितले जानकारी दिए।
उपकरण थोरै हुँदा मिर्गौला पीडितलाई डायलासिसका लागि समस्या हुने गरेको छ। स्वास्थ्य मन्त्रालयले दमौली अस्पताललाई दुई नयाँ उपकरण पठाएको छ। प्रदेश सरकारमार्फत दमौली अस्पतालमा दुई उपकरण आइपुगेपनि जडान हुन बाँकी रहेको छ।
चार उपकरण सञ्चालनमा हुँदा दैनिक १६ जनाले मात्रै सेवा पाउने अवस्था रहेको छ। केन्द्रले दैनिक बिहान ७ बजेदेखि राति ११ बजेसम्म डायलासिस सेवा सञ्चालन गरेको छ।
केन्द्रमा हाल डायलासिस सेवा लिने कूल संख्या ५० जना रहेका छन् तर अझै ३० मिर्गौला पीडित डायलासिसका लागि पालो पर्खिदै छन्। तनहुँका विभिन्न ठाउँका मिर्गौला पीडितले मिर्गौला उपचार केन्द्रमा डायलासिसका लागि नाम टिपाएर पालो पर्खिरहेका छन्। नियमित रुपमा डायलासिस गराउनुपर्ने उनीहरुले हाल पोखरामा डायलासिस गरिरहेका छन्।
उपचार केन्द्रमा डायलासिस गराइरहेका मिर्गौला पीडितले मिर्गौल प्रत्यारोपण वा अन्यत्रै स्थानान्तरण भएर गए मात्रै नयाँले मौका पाउने अवस्था रहेको पण्डितले बताए। “ठाउँ खाली भए मात्रै नयाँलाई मौका दिने हो, कि उहाँहरुले मिर्गौला प्रत्यारोपण गर्नुपर्यो कि अन्यत्रै जिल्लामा स्थानान्तरण भएर जानुपर्यो”, उनले भने, “ठाउँ खाली भएपछि नाम दर्ता गरेकालाई यहाँ डायलासिसको व्यवस्था मिलाउँछौँ।”
विसं २०७२ मंसिर ३ गते अस्पतालमा डायलासिस युनिट सञ्चालनमा आएको थियो। उक्त युनिट गत कात्तिक २४ गते दमौली अस्पताललाई हस्तान्तरण गरिसकिएको छ। युनिटमा हालसम्म दुई सय २८ ले डायलासिस सेवा लिएका छन्। केन्द्रमा तनहुँका अतिरिक्त छिमेकी जिल्लाका मिर्गौला पीडितले पनि डायलासिस सेवा लिइरहेका छन्।
हेल्थ केयर फाउण्डेसन अफ नेपालले दमौली अस्पतालमा डायलासिस केन्द्र स्थापना गरेको थियो। केन्द्रका लागि मन्जु उपाध्यायले आफ्ना स्व पति शत्रुधन उपाध्यायको स्मृतिमा सुरुमा रु एक करोड सहयोग गरेकी थिइन् भने पछि उपकरण थप गर्नका लागि रु २५ लाख सहयोग गरेकी थिइन्। – रासस |
ताप्लेजुङको मेहेलेमा पहिरोमा परी एक बेपत्ता, दुई घाइते ताप्लेजुङ। ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा आज बिहानको पहिरोमा परी दुई जना गम्भीर घाइते भएका छन् भने एक जना सम्पर्कविहीन बनेका छन्।
पहिरोमा परी स्थानीय राजकुमार राई र सुरेश राई घाइते भएको स्थानीय शिक्षक कमल कडरियलाले जानकारी दिए। उनका अनुसार सुरेशका बाबु केशरबहादुर राई सम्पर्कमा नरहेको बताइएको छ।
मेहेलेको मुकुभञ्ज्याङ क्षेत्रमा पहिरो गएको थियो। घाइते भएकाको उपचारका लागि अन्यत्र लैजान हेलिकप्टरको आवस्यकता देखिएकाले स्थानीयस्तरबाट पहल भइरहेको उनको भनाइ छ । घर नजिकै सडकमा रहेको मोटरसाइकल थन्क्याउन निस्किएका समयमा आएको पहिरोमा परी घाइते र बेपत्ता बनेको खबर आफूले पाएको स्थानीय भुपाल मंरातीले जानकारी दिए।
शनिबार साँझदेखि भएको वर्षा अझै रोकिएको छैन। मेहेले साविक ९ नम्बरका अधिकांश मानिसले आफ्नो घर छाडेर अन्यत्र सरेका छन् तर सुरक्षित भनिएकै ठाउँ पनि भारी वर्षाका कारण जोखिममा रहेको कमल कडरियाले बताए।
मेहेलेसहित सुरुम्खिम, खेवाङ, पेदाङलगायतका पूर्वी क्षेत्रमा यो पटक अत्यधिक वर्षा भइरहेको छ। निरन्तरको वर्षाका कारण त्यहाँका नागरिक त्रसित भएर बस्नुपर्ने बाध्यता रहेको स्थानीयले बताए।
मेहेलेमा शनिबार गएको पहिरोमा परी तीन जना अझै बेपत्ता रहेका छन् भने एक जनाको शव भेटिएको छ। मेहेलेमा मात्र छ घर पूर्णरुपमा बाढी पहिरोले बगाएको छ। – रासस |
सङ्खुवासभाको हेवा खोला बाढीपहिरो बेपत्ताको पहिचान खुल्यो सङ्खुवासभा। सङ्खुवासभाको हेवा खोलामा शनिबार राति आएको बाढीले बगाउँदा बेपत्ता हुनेको सङ्ख्या २२ पुगेको छ। गए राति आएको बाढीले बगाउँदा पाँचखपन-९ का २६ वर्षीय सन्तोष राईको मृत्यु भएको छ।
शनिबार राति वर्षासँगै आएको बाढीले सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १७ मजदुर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बाढीले चैनपुर–४ मा निर्माणाधीन सुपर हेँवा हाइड्रोपावरका १७ जना बेपत्ता भएको प्रहरी नायव उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए।
वेपत्ता हुनेमा सुपर हेँवा हाइड्रोपावरका सुपरभाइजर सन्तोष ढकाल (सुनसरी), भुवनसिंह तामाङ (चैनपुर नगररपालिका) , सुवास राई ( सङ्खुवासभा) , फैजबहादुर कार्की (झापा) , गणेश गिरी (धनकुटा), राजकुमार मगर (इलाम), मीना श्रेष्ठ (झापा) , रामजतन थारु (कैलाली), राहुल थारु (बर्दिया), रोहित थारु (बर्दिया), पुलसन थारु (बर्दिया), कालीराम थारु (बर्दिया), राजराम थारु (बर्दिया), सुगत थारु (कैलाली), अमर थारु (कैलाली), सीता थारु (कैलाली) र दीपक मगर (सङ्खुवासभा) छन्।
त्यस्तै गरी सभापोखरी गाउँपालिका-३ सुनाम्लामा गोठ बगाउँदा ६० वर्षीय गणेश राई र ६१ वर्षीया सञ्चमाया राई बेपत्ता भएका छन्। चैनपुर नगरपालिका-१ नुनढाकीमा बर्दिया नगरपालिकाका भीम चौधरी, अप्पर हेवाखोला हाइड्रोपावरका मजदुर चैनपुर नगरपालिका-४ का ५० वर्षीय ज्ञानबहादुर लिम्बू बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
बाढीले बगाउँदा सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने दुई जना मजदुर घाइते भएका छन्। घाइते हुनेमा बर्दिया नगरपालिका-७ का २४ वर्षीय टीकाराम चौधरी र ३५ वर्षीय दीपकराज थारु छन्।
गम्भीर घाइते दुवैको हेल्पिङ हेन्स सामुदायिक अस्पताल चैनपुरमा उपचार भइरहेको छ। चैनपुर नगरपालिका ४ र पाँचखपन नगरपालिका-९ मा गएको पहिरोले खोला थुनिएपछि आएको बाढीले बगाउँदा ठूलो परिमाणमा भौतिक संरचनाको क्षति भएको हो।
बाढीले जिल्लाका विभिन्न स्थानमा सात घर क्षति भएको छ भने अन्य चार घरमा क्षति पुगेको प्रहरीले जनाएको छ। बाढीले तीन पक्की पुलमा क्षति पुर्याएको छ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय चैनपुर र सशस्त्र प्रहरीको टोली खटिएका छन्। बाढी भौतिक संरचना बगाउँदा करोडाैंको क्षतिको भएको छ। घटनाको थप विवरण आउन बाँकी छ। रासस |
पोखरामा पनि आजबाट हिन्दी सिनेमा प्रदर्शनमा रोक पोखरा। पोखरामा पनि आजबाट हिन्दी सिनेमा नचल्ने भएका छन्। बलिउड चलचित्र ‘आदिपुरुष’ को संबादलाई लिएर पोखरामा पनि हिन्दी सिनेमा प्रदर्शनमा प्रतिबन्ध लगाइएको हो।
पोखरा महानगरपालिकाले एक परिपत्र जारी गर्दै सोमवारवाट हिन्दी सिनेमा प्रदर्शनमा प्रतिबन्ध लगाएको हो।
‘दक्षिण भारतीय चलचित्र (फिल्म) ‘आदिपुरुष’मा समावेश गरिएको जानकी भारतीय छोरी हुन भन्ने शब्द नसच्चिएसम्म पोखरा महानगरपालिका क्षेत्र भित्रका चलचित्र घरमा अन्य कुनै पनि भारतीय फिल्म प्रसारण गर्न रोक लगाईएको ब्योहोरा जानकारी गराइन्छ’ नगर प्रमुख धनराज आचार्यले भनेका छन्।
जसअनुसार बाराही क र ख, श्रीकृष्ण र बिन्ध्यवासिनी, सिनेप्लेक्स, मिडटाउनलगायत सिनेमा हलमा हिन्दी प्रदर्शन चल्ने छैन।
|
लमजुङको पहिरोले मनाङ यात्रा सकस मनाङ। शनिबार यहाँ वर्षा हुँदा डुम्रे-बेँसीशहर-चामे सडक खण्डअन्र्तगत लमजुङको बेँसीशहर नगरपालिका–९ खरखरेमा पहिराले बाटो अवरुद्ध भएको छ।
बाटो अवरुद्ध हुँदा हिमाली जिल्ला मनाङको यात्रा सकस भएको स्थानीयवासीले बताए । वर्षासँगै पहिरो खसेर सडक अवरुद्ध भएकाले हटाउनका लागि डुम्रे–बेँसीशहर–चामे सडक योजना कार्यालयले एक्साभेटरलगायत सामग्री तयारी अवस्थामा राखेको छ।
मनाङको मेरुदण्डको रूपमा रहेको उक्त सडक अवरुद्ध हुन नदिन ती उपकरण तयारी अवस्थामा राखिएको कार्यालयका सब–इञ्जीनीयर एवं साइड इञ्चार्ज सुमन अधिकारीले जानकारी दिए।
“वर्षायाम लाग्नासाथ यस मार्गमा यात्रा नै सकस हुन्छ, मनाङ पर्यटकीय क्षेत्रसमेत भएकाले मनाङवासी र पर्यटकलाई सहजरूपमा यात्रा गर्ने वातावरण बनाउन एक्साभेटरलगायत उपकरण राखेका छौंँ, समस्या हुनासाथ सफा गरी सडक चालु गराउने छौँ”, उनले भने, “मनाङको यात्रा अन्य समयमा पनि जोखिम हुन्छ तर वर्षायाममा अझ बढी जोखिम हुन्छ, जोखिमलाई न्यूनीकरण गर्न नसके पनि सडक सहज बनाउने कार्यमा प्रतिबद्ध छौंँ। यसरी ठाउँ–ठाउँमा एक्साभेटर तयारी अवस्थामा राखिए दोहोरो तर्फबाट पहिरो हटाउन सहज हुने हुन्छ ।”
सब–इञ्जीनीयर अधिकारीले भने, “यात्रा सकस हुन्छ भनेर यात्रा पछि सार्नुपर्ने अवस्था छैन, यात्रा गर्न सक्नुहुन्छ । मनाङ आउने पर्यटकले कस्तो होला भन्दै बस्नुपर्ने अवस्था छैन ।”
प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गोलले वर्षायामको समयमा मनाङको सडक अवरुद्ध हुन नदिन उक्त सडक योजनालाई अनुरोध गरिएको जानकारी दिए।
उनले भने, “विकट क्षेत्र भनेर सधैँ सडक अवरुद्ध भएर बस्नुपर्ने बाध्यता हटाउन योजनासँग समन्वय गरिएको छ, यसवर्ष यो सडकमा लामो समय सडक अवरुद्ध भएर बस्नुपर्ने हुँदैन ।”
एक सय सात किलोमिटरमध्ये ३५ किलोमिटर लमजुङ जिल्लाको भाग पर्दछ भने ६५ किलोमिटर मनाङमा पर्दछ । यस आयोजनाले मनाङको सदरमुकाम चामेसम्मको खण्डको काम गर्ने गर्दछ ।
वर्षायाम बाहेक अन्य अवस्थामा पनि उक्त सडकमा सुख्खा पहिरो खस्ने समस्या भइरहन्छ । यस्तो समस्या तुरुन्तै समाधान गर्न नसकिने भए पनि लामो समय नलाग्ने गरी अवरुद्ध सडक खुलाउन सकिएमा स्थानीयवासीले भोग्नुपर्ने सास्ती न्यूनीकरण हुन्छ। रासस |
अब निसेलढोरमै स्वास्थ्य सेवा, स्थानीय हर्षित ढोरपाटन। “केटाकेटी बिरामी भइरहन्छन्, कहिलेकाँही हामी आफै पनि बिरामी हुन्छौँ, भनेको बेला गाडी पाइँदैन, अस्पतालमा पुग्न यहाँबाट एक दिन लाग्थ्यो, तर अब गाउँमै स्वास्थ्य संस्था आएपछि भने खुसी लागेको छ”, निसीखोला गाउँपालिका–५का कमला विकले भनिन्।
विकका चार छोराछोरी छन्। उनीहरु विरामी पर्दा एक दिन खर्चेर अस्पताल जानु पर्दथ्यो। तर यसै साता गाउँपालिकाले निसेलढोरमा सामुदायिक स्वास्थ्य इकाइ स्थापना गरेपछि सामान्य उपचारका लागि अस्पताल पुग्नै पर्ने बाध्यता हटेकोमा उनीलगायतका स्थानीय खुसी छन्।
निसेलढोर बागलुङको दुर्गममा पर्ने बस्ती हो। निसेलढोरका अधिकांश स्थानीय घुम्ती बसाइ गर्ने गर्छन्। असोज लागेपछि निसीखोला गाउँपालिका–५ को निसी गाउँ झर्ने र बर्खा लागेपछि निसेलढोर जाने स्थानीयको परम्परा नै हो। कहिले लेक त कहिले बेँसी गर्ने हुँदा निसेलढोरमा अहिलेसम्म स्वास्थ्य संस्था स्थापना हुन सकेका थिएन।
एकदशक अगाडिसम्म निसेलढोरमा बाह्रै महिना बस्नेको संख्या निकै कम थियो। अहिले सडक सञ्जालले जोडिएपछि स्थायीरुपमा ६० घर परिवार बसिरहेका छन्। बिरामी हुँदा घरेलु ओखतीमुलो गर्दै आएका स्थानीयले अब स्वास्थ्य संस्थामा उपचार गराउनुका साथै औषधिसमेत पाउने भएका छन्। गाउँमा स्वास्थ्य संस्था नहुँदा बिरामीले अकालमा ज्यान गुमाउनु पर्ने अवस्था थियो। अब कसैले पनि अकालमा ज्यान गुमाउन नपर्ने उनको विश्वास छ।
“सहर बजारभन्दा धेरै टाढा छौँ, गाउँमा डाक्टर थिएन्, अस्पताल थिएन, कोही बिरामी भयो भने झाँक्रीधामी गर्ने गथ्र्यौं, धामीझाँक्रीले निको नबनाए मात्रै अस्पताल जान्थ्यौँ”, उनले भनिन्, “अस्पताल लैजाँदै गर्दा कतिले त बाटोमै ज्यान गुमाए, अब त्यसरी अकालमा कसैलाई पनि मर्न पर्ने छैन, सरकारले गाउँमै अस्पताल ल्याइदियो, हामीहरु धेरै खुसी भएका छौँ।”
सामुदायिक स्वास्थ्य इकाइ सञ्चालनमा आएपछि गाउँका सबै नागरिकले सहजरुपमा सेवा पाउने अवस्था भएकोस्थानीय प्रेमबहादुर पुनको भनाइ छ। यतिका वर्षसम्म सामान्य स्वास्थ्योपचारका लागि हजारौँ खर्च गर्नुपरेको भन्दै अब जटिल किसिमका रोगबाहेक अन्य उपचार गाउँमै गराउन पाइने भएपछि उनले खुसी व्यक्त गरे। सरकारले दुर्गमको स्वास्थ्य संस्थालाई प्राथमिकतामा राखेर औषधि र उपकरणको कमी हुन नदिन आग्रह गरे।
उनी भन्छन्, “हामीहरु धेरै टाढा छौँ, अस्पताल सञ्चालनमा आयो भन्ने मात्रै नहोस् यहाँबाट प्रवाह हुने सेवा गुणस्तरीय र प्रभावकारी बनोस्, हामीहरु सामान्य उपचारका लागि ठूलाठूला अस्पतालमा जान नपरोस्, यसलाई राज्यले विशेष प्रथमिकतामा राख्न जरुरी छ।”
यहाँ सामुदायिक स्वास्थ्य इकाइ सञ्चालनका लागि निसीखोला गाउँपालिकाले चालु आर्थिक वर्षमा रु १५ लाख विनियोजन गरेको थियो। गाउँपालिकाले तत्कालका लागि घर भाडामा लिएर एक जना अनमी र एक जना कार्यालय सहयोगी राखी सेवा विस्तार गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत दिलीपकुमार चन्दले जानकारी दिए। आगामी आवमा गाउँपालिकाले प्रदेश सरकारसँग सहकार्य गरी भवन निर्माण गरेर सेवालाई थप गुणस्तरीय र प्रभावकारी गराउने उनको भनाइ छ।
निसीखोला गाउँपालिकामा स्वास्थ्यचौकी चार वटा, आधारभूत स्वास्थ्य इकाइ दुई वटा, सामुदायिक स्वास्थ्य इकाइ दुई वटा गरी आठ स्वास्थ्य संस्था सञ्चालनमा रहेको उनले बताए। अहिले वडा नं ४ को झिम्पामा पालिकास्तरीय १० शय्याको आधाभूत अस्पताल निर्माणको अन्तिम चरणमा रहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत चन्दको भनाइ छ। निसेलढोरमा अहिलेसम्म विद्युत्को पहुँच पुगेको छैन। – रासस |
ताप्लेजुङ अपडेट : एक जनाको शव भेटियो, खोजी तथा उद्धार कार्य जारी फुङ्लिङ। ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका–६ मेहेलेमा गएको पहिरोमा परी बेपत्ता भएका चार जनामध्ये एक जनाको शव फेला परेको छ।
पहिरोमा परी बेपत्ता भएका ३० वर्षीय गणेश तामाङको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बेपत्ता तीन जनाको खोजीकार्य भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राजन लिम्बूले मेहेलेमा भालुखोपका एकै परिवारका तीन जना बेपता भएको जानकारी दिए। उनका अनुसार बेपत्ता हुनेमा यादव बुढा क्षेत्रीको ६३ वर्षीया श्रीमती भगीमाया बुढा क्षेत्री, उनकी बुहारी ३० वर्षीया सन्ध्या बुढा क्षेत्री र नाति नौ वर्षीय प्रज्वल बुढा क्षेत्री रहेका छन्। उनीहरुको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरी नायब उपरीक्षक लिम्बूले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी कुशराम कार्कीका अनुसार पहिराले मेहेलेका यादव बुढाक्षेत्री र रामबहादुर तामाङको घर बगाएको छ। “यादव सिरिजंगा गाउँपालिका–५ पेदाङस्थित दिदीको घरमा जानु भएको थियो। पहिराले घरमा रहेका उहाँका श्रीमती, बुहारी र नातिलाई बगाएको हो”, उनले भने, “बुबाआमालाई सुरक्षित स्थानमा सार्दै गर्दा गणेशलाई पहिरोले बगाएको थियो।”
जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरोले सिदिङ्वा गाउँपालिका–३ आङखोप इलाबोटेस्थितमा महेश्वर सेलिङ, प्रेम सेलिङ, डिल्ली सेलिङ र नरेश सेलिङका गरी चार वटा घर बगाएर पूर्णरुपमा क्षति पुर्याएको छ। मेहेलेस्थित सदाकुटी डाँडाबाट झरेको पहिराले करिब २० घरपरिवार जोखिममा परेका छन्। |
‘स्मार्ट’ बत्तीले झलमल पोखरा पाेखरा। पोखराको मुख्य सहरी क्षेत्र ‘हाइमार्स्ट’ र ‘स्मार्ट’ सडकबत्तीले झलमल बनेको छ। ‘उज्यालो पोखरा’ अभियानअन्तर्गत् २० मुख्य चोकमा ‘हाइमार्स्ट’ र करिब ५० किमी सडकमा एक हजार छ सय २४ वटा ‘स्मार्ट बत्ती’ जडान गरिएको छ।
नेपाल विद्युत् प्राधिकरण र पोखरा महानगरपालिकाको साझेदारीमा बत्ती जडानको काम भइरहेको हो। पृथ्वीचोक, विरौटाचोक, शहीदचोक, बागलुङ बसपार्क, हेम्जा, फेवा किनारलगायत २० ठाउँमा ‘हाइमार्स्ट’ बत्ती जडान भइसकेको छ।
चालु आवको कार्यक्रमअन्तर्गत मुस्ताङ चोक, बाटुलेचौर मैदान र बेगनासतालमा ‘हाइमार्स्ट’ बत्ती जडानको काम भइरहेको प्राधिकरणको राष्ट्रिय सडकबत्ती प्रवर्द्धन आयोजनाका प्रमुख प्रमोद रिजालले जानकारी दिए।
“हाइमार्स्ट र स्मार्ट बत्ती जडानको काम सँगसँगै भइरहेको छ, सम्झौता अनुसारको काम पूरा हुने चरणमा छ”, उनले भने, “उज्यालो पोखरा अभियानले अर्को वर्ष पनि निरन्तरता पाउँनेछ, महानगरले पनि कार्यक्रम माग गरेको छ।”
चालीस मिटर परसम्म चारैतिर उज्यालो दिने ‘हाइमार्स्ट’ बत्तीले पोखराका मुख्य चोक झलमल बनेको आयोजना प्रमुख रिजालले बताए। “हाइमार्स्ट अन्तर्राष्ट्रिय गुणस्तरको टिकाउ बत्ती हो, आवश्यकताअनुसार यसको प्रकाश घटाउन र बढाउन सकिन्छ”, उनले भने, “मोबाइलको सर्भर प्रणालीबाट बत्तीलाई नियन्त्रण गर्न सकिन्छ।”
सोह्र मिटर अग्लो पोलमा ‘हाइमास्र्ट’ बत्ती राखिन्छ। मानिस र सवारीसाधनको आउजाउ बढी हुने समयमा बत्तीलाई पूर्ण क्षमतामा बालिन्छ। रात छिप्पिँदै जाँदा भने बत्तीको प्रकाशलाई केही घटाउने गरिएको छ।
बाहिर उज्यालो हुँदा बत्ती स्वचालित रुपमा निभ्ने र रात परेपछि बल्ने गर्छ।‘स्मार्ट’ बत्ती नियन्त्रणका लागि ठाउँठाउँमा ‘कन्ट्रोल प्यानल’ राखिएको छ। ‘सफ्टवेयर’ प्रणालीबाट बत्ती बले/नबलेको जाँच गर्न सकिन्छ। बत्ती बिग्रिएमा उक्त प्रणालीमा संकेत आउँछ।
विरौटादेखि-छोरेपाटन, न्यूरोडलगायत क्षेत्रमा ‘स्मार्ट’ सडकबत्ती जडान गरिएको महानगरका इञ्जिनियर धु्रव भट्टराईले बताए। उनका अनुसार ९० वाटका एक हजार एक सय २४ र एक सय २० वाटका पाँच सय २० ‘स्मार्ट’ बत्ती जडान गरिएको हो। चार सय ४० वटा नयाँ र बाँकी पुरानै बिजुलीका पोलमा ‘स्मार्ट’ बत्ती राखिएको छ।
सडकबत्तीका लागि प्राधिकरणले छुट्टै ट्रान्सफर्मर जडान गरेको छ। कूल रु १२ करोड ७५ लाखको उक्त आयोजनामा प्राधिकरण र महानगरको ५०/५० प्रतिशत लागत साझेदारी रहेको छ। अर्को वर्ष ‘जिरो’ किमिदेखि फेँदीसम्म ‘स्मार्ट’ सडकबत्ती जडान गर्ने योजना रहेको इञ्जिनियर भट्टराईले बताए।
“आवश्यकता हेरेर सहरका मुख्य चोक र सडकमा स्मार्ट बत्ती जडान गर्दै जाने महानगरको योजना छ”, उनले भने, “स्मार्ट बत्तीले एकातिर सहरी सौन्दर्य बढ्छ, अर्कातिर सहर सुरक्षित हुन्छ, यसबाट राति हुने आपराधिक क्रियाकलाप नियन्त्रणमा पनि सघाउ पुग्छ।”
पोखरा महानगरका प्रवक्ता मोतीलाल तिम्सिनाले ‘उज्यालो पोखरा’ महानगरको प्राथमिकताप्राप्त कार्यक्रम रहेको बताए। ‘स्मार्ट’ बत्तीको झिलिमिलीले पर्यटकीय राजधानी पोखराको आकर्षण अझ बढ्ने उनको भनाइ थियो।
“स्मार्ट बत्तीले सहरको रात्रिकालीन सौन्दर्य बढ्नाका साथै आपराधिक क्रियाकलाप र सवारी दुर्घटना न्यूनीकरणमा पनि टेवा पुग्छ”, प्रवक्ता तिम्सिनाले भने।
सडक बत्तीको सञ्चालन र व्यवस्थापनको जिम्मा महानगरले लिएको छ। बत्तीको महसुल पनि उसैले तिर्छ। महानगरको ‘उज्यालो पोखरा’ अभियानसँगै सिंगै गण्डकी प्रदेशलाई पनि ‘उज्यालो प्रदेश’ घोषणा गर्ने तयारी भइरहेको छ।
प्रदेश सरकारले आगामी आवभित्र प्रदेशका सबै घरधुरीमा विद्युत् सेवा पुर्याउने लक्ष्य लिएको छ। प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको तथ्यांक अनुसार ९९ दशमलव ५० प्रतिशत घरमा बिजुली पुगेको छ। शून्य दशमलव पाँच प्रतिशत घरधुरी मात्र बिजुलीको पहुँच बाहिर छन्।
छुटेका घरधुरीमा बिजुली पु¥याएर ‘उज्यालो गण्डकी प्रदेश’ घोषणा गर्ने तयारीमा प्रदेश सरकार छ। प्रदेश स्थापनापछि विसं २०७४ मा गठित सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले दुई वर्षभित्रमा सबै घरमा बिजुली बाल्ने निर्णय गरेको थियो।
वर्सेनि सरकारको नीति, कार्यक्रम र बजेटमा समेटिँदै आएको ‘उज्यालो गण्डकी प्रदेश’को लक्ष्य यो वर्ष पूरा हुन लागेको हो। राष्ट्रिय प्रसारण लाइन नपुगेका ठाउँमा लघुजलविद्युत् र घरेलु सौर्य ऊर्जामार्फत विद्युत् सेवा विस्तार गरिएको हो।
मन्त्रालयको ऊर्जा शाखाका अनुसार बागलुङ, तनहुँ र नवलपुरका केही ठाउँमा मात्र विद्युत् सेवा पुग्न बाँकी छ। प्रदेशका पाँच लाख ७४ हजार सात सय ९८ घरधुरीमा विद्युत् सेवा पुगेकामा राष्ट्रिय प्रसारण लाइनको योगदान ९५ दशमलव ६८ प्रतिशत छ भने बाँकी लघुजलविद्युत् तथा सौर्य ऊर्जा आदिको छ। रासस |
गौसंरक्षण केन्द्रको घाँसे मैदान उजाडिँदै, हरियाली बनाउन श्रमदान तनहुँ। तनहुँको शुक्लागण्डकी नगरपालिका–९ घारीस्थित गौसंरक्षण केन्द्रमा शनिबार बिहानैदेखि सर्वसाधारणको भीड थियो। कसैले हातमा कुटो, कोदाली त कसैले खन्ती, गैँची बोकेका थिए।
किशोर-किशोरी, युवा-युवतीदेखि वृद्ध-वृद्धासम्मको भीड बिहानैदेखि बाक्लिएको थियो। उनीहरु गौसंरक्षण केन्द्रको घाँसेमैदान हरियाली बनाउने उद्देश्यसहित घाँस रोपणका लागि श्रमदानमा सहभागी हुन आएका थिए। श्रमदानका लागि आएका सर्वसाधारणको सङ्ख्या सयौँमा थियो । विभिन्न वडाका सर्वसाधारण स्वतःस्फुर्तरूपमा श्रमदानमा सहभागी हुन आइपुगेका थिए।
विगत केही समयदेखि गौ संरक्षण केन्द्रको घाँसेमैदान उजाडिएको छ । घाँसेमैदान उजाड हुँदा गौ संरक्षण केन्द्रका गाई भोकै हुनुपर्ने अवस्था आउन थालेको छ। आहाराको अभावमा केही गाईको मृत्युसमेत भएपछि सुशासन तथा समृद्ध शुक्लागण्डकीका लागि युवा अभियान केन्द्रमा घाँसेमैदान बनाउन अग्रसरता बढेको छ।
अभियानको आह्वानमा केन्द्रमा घाँस रोप्ने अभियानमा श्रमदानका लागि सर्वसाधारण ओइरिन थालेका छन् । अभियानका संयोजक शंकर पन्तले गौ संरक्षण केन्द्र हराभरा र गाई भोकले मर्न नपर्ने समयसम्म घाँस रोप्ने कार्य चलिरहने बताए। उनले भने, “हामीले यो अभियानका लागि आह्वान गरेकामा युवायुवती, वृद्धवृद्धासमेत आएर सहयोग गरिरहनुभएको छ।”
यसअघि पाँच श्रमदान कार्यक्रममा अनावश्यक झाडी फाँड्ने, ढुङ्गा पन्छाउने, खनजोत गर्नेलगायतका सफाइको काम गरी घाँस रोप्ने जमिन तयार पारिएपछि असारको पहिलो हप्तादेखि बृहत् घाँस रोपण सुरु भएको छ।
शनिबार करिब २० रोपनी जग्गामा नेपियर, मुलाटो, सख्खर लगायतका भुईघाँस, दबदबे, पाखुरी, काउरो, इपीलिपी लगायतका डाले घाँस रोपिएको छ।
पन्तले भने, “गौ संरक्षण केन्द्रमा घाँस नहुँदा गाई भोकै मर्नुपरेको दुःखद् अवस्था देखेपछि हामीहरूले यो अभियान सुरु गरेका हौँ । गौ संरक्षण केन्द्रलाई घाँसले हरियाली बनाएपछि मात्रै अभियान सम्पन्न हुनेछ।”
बृहत् सरसफाइ तथा घाँस रोपण कार्यक्रमको छैटौँ शृङ्खलामा युवा अभियन्ताहरूसँगै नेपाल प्रहरी, माछापुच्छ्रे टोल, गाछेपानी साँखर टोल, हरियाली आमा समूह, जनहित आमा समूह, पञ्चमुनिदेव माविका विद्याथी सहभागी थिए।
शुक्लागण्डकी नगरपालिकाले छाडा चौपाया व्यवस्थापनमा लागि गौ संरक्षण केन्द्र सञ्चालन गरेको थियो । नगरपालिका क्षेत्रभित्र जथाभावीरूपमा चौपाया छाड्दा दुर्घटनाको जोखिम बढेपछि नगरपालिकाले गौ संरक्षण केन्द्र सञ्चालनमा आएको थियो।
दूध दिन छाडेपछि कृषकले जथाभावी गाईवस्तु छाडिदिने गरेको र पोखरा महानगरपालिकाबाट गाईवस्तु शुक्लागण्डकीमा भित्रिन थालेको थियो । तर गौ संरक्षण केन्द्रमा घाँसेमैदान नहुँदा समस्या हुँदै आएको छ। |
अपडेट : पाँचथरको हेवाखोला बाढीमा बेपत्ता सबैको पहिचान पाँचथर। पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमा भई बग्ने हेवाखोलामा आएको बाढीमा परी बेपत्ता भएका पाँचै जनाको पहिचान भएको छ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार बाढीमा परी हिलिहाङ गाउँपालिका-७ का ४५ वर्षीय तिलकुमार तामाङ, फिदिम नगरपालिका-११ का २८ वर्षीय सञ्जोग लिम्बू र फिदिम-५ का ५५ वर्षीय राजकुमार राई सम्पर्कविहीन छन्। उनीहरुलाई हेवाखोलाले हेवाखोला पुल क्षेत्रबाट बगाएको प्रहरीको अनुमान छ।
यस्तै फिदिम-४ र हिलिहाङ-७ को सिमाना माझीटार तमोर दोभानबाट दुई जना बेपत्ता भएका छन्। स्थानीयवासी २८ वर्षीय आशिष माझी र २५ वर्षीया एलिसा माझी सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ। बाढीले फिदिम-४ का रेशम कटुवालको दुईतले घर र मतान बगाएको छ।
बाढीले याङवरक गाउँपालिका-२ फलैँचाका रामप्रसाद राईको एकतले घर, चन्द्र बेघाको दुईतले घर र एकतले मतान र कृष्ण बेघाको एकतले घर बगाएको छ। यहाँ मानवीय क्षति नभएको र बाँकी क्षतिको विवरण प्राप्त हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार हालसम्म बाढीले हेवाखोलामा रहेका चारवटा सडक पुल बगाएको छ। फिदिम-४ र हिलिहाङ–७ को सीमामा मेची राजमार्गको एक सडक पुल, तमोर करिडोर एक सडक पुल (बेलीब्रिज) बाढीले बगाएको छ।
यस्तै फालेलुङ गाउँपालिका वडा नं ३ र ७ को सीमामा रहेको एउटा तथा सोही गाउँपालिका वडा नं ३ र ५ को सीमामा रहेको अर्को सडक पुल बाढीले बगाएको छ। सो स्थानबाट जलविद्युत् आयोजनाको एउटा ‘स्काभेटर’ पनि बाढीले बगाएको प्रहरीले जनाएको छ।
बाढीका कारण मेची राजमार्ग र तमोर करिडोर सडक अवरुद्ध भएका छन्। वर्षापछि मेची राजमार्गको फाल्गुनन्द गाउँपालिका–३ पाङ्ग्रेभीरमा पहिरो झरेर सडक पूर्णतः अवरुद्ध भएको छ भने फिदिम-३ कान्छीदोकानमा पनि भेलले सडक अवरुद्ध पारेको छ।
वर्षाका कारण सडक बगाएपछि फिदिम-यासोक सडकको कुम्मायक गाउँपालिका–४ वनथाकमा सडक अवरुद्ध भएको छ। यस्तै फाल्गुनन्द–७ बाट घुर्बिसेपञ्चमी जोड्ने सडक पनि अवरुद्ध भएको प्रहरीले जनाएको छ।
बाढीले याङवरक-२ मा दुईवटा र फालेलुङ-३ र ५ को सीमाको एक झोलुङ्गे पुलमा समेत क्षति पुर्याएको प्रहरीले जनाएको छ। बाढीले जिल्लामा निर्माण र सञ्चालनमा रहेका अधिकांश जलविद्युत् आयोजनामा क्षति गरेको छ। क्षतिको विवरण सङ्कलन भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
सडक सम्पर्कविच्छेद
भीषण वर्षापछि आएको बाढीले हेवाखोलामा रहेका दुईवटा पुल बगाएपछि पाँचथरबाट ताप्लेजुङ जिल्ला तथा जिल्लाका दुई गाउँपालिकासँगको सडक सम्पर्कविच्छेद भएको छ।
गए राति भीषण वर्षा भएपछि हेवाखोलामा आएको बाढीले मेची राजमार्गको फिदिम-४ र हिलिहाङ-७ जोड्ने हंवाखोला पुल बगाएको छ। बाढीले ५४ दशमलव ५२ मिटरको उक्त पुल बगाएपछि मेची राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ।
विसं २०४२ मा बनेको यो पुल बाढीका कारण हालसम्म कहिल्यै जोखिममा समेत परेको थिएन। तर गए रातिको बाढीले तीन स्पान रहेको पुलका सबै संरचना बगाएको हो।
यस्तै तमोर करिडोर सडकअन्तर्गत तीन वर्षअघि हेवाखोलामै निर्माण भएको माझीटारस्थित बेलीब्रिज (फलामको पुल) पनि बाढीले बगाएको छ। फिदिम-४ र हिलिहाङ-७ लाई जोड्ने बेलीब्रिजका सबै संरचना बाढीमा बगेका छन्।
दुवै पुल बगेपछि मेची राजमार्ग र तमोर करिडोर सडकबाट ताप्लेजुङ जिल्ला तथा पाँचथरको हिलिहाङ र याङवरक गाउँपालिकासँगको सडक सम्पर्कविच्छेद भएको छ।
सडक सम्पर्कविच्छेद भएपछि आकस्मिक बिरामीलाई अस्पतालसम्म पुर्याउने कार्य चुनौतीपूर्ण भएको छ। यस्तै यस क्षेत्रमा उत्पादन हुने दुग्धजन्य उत्पादन र सागसब्जी खेर जाने अवस्था आएको छ।रासस |
मिर्चैया वितरण केन्द्रद्वारा विपन्न घर-परिवारलाई निःशुल्क विद्युत मिटर वितरण सिरहा। नेपाल विद्युत प्राधिकरण मधेश प्रदेश प्रादेशिक कार्यालयका प्रमुख मुनेन्द्रप्रसाद ठाकुरले सेवाग्राहीलाई सहज ढङ्गले सेवा प्रवाह गर्न निर्देशन दिएका छन्। प्राधिकरणको सिरहास्थित मिर्चैया वितरण केन्द्रले आइतबारबाट सुरु गरेको ‘विपन्न घर–परिवारलाई निःशुल्क विद्युत् मिटर वितरण’ कार्यक्रमलाई सम्वोधनगर्दै सेवाग्राहीलाई कुनैपनि प्रकारको दुख दिने, अल्झाउने, फर्काउने खालका व्यहार नगर्न कर्मचारीहरुलाई निर्देशन दिएका हुन्।
उनले सेवाग्राहीलाई अनावश्यक रुपमा दुस्ख दिने, अल्झाउने, फकाउने गरेको प्रमाणसहित उजुरी गरे त्यस्ता कर्मचारीलाई तत्काल कारबाही गर्ने बताए । उनले भने, ‘कार्यालयबाट फर्कने सेवाग्राहि फर्कदा खुशी खुशी फर्कने गरी काम गर्नुहोस्। गुणस्तरीय सेवा दिनु हाम्रो दायित्व हो।’
प्रादेशिक कार्यालयका प्रमुख तथा कार्यक्रममका प्रमुख अतिथि ठाकुरले नेपाल सरकार र प्राधिकरणको सामाजिक दायित्वअन्तर्गत मिर्चैया वितरणकेन्द्रले निशुल्क मिटर वितरण कार्य सुरुगरेको बताए। उनले सरकार र प्राधिकरणको दायित्व अन्तर्गत मिटर वितरण प्रकृया सुरुभएको बताउँदै यसलाई पनि पार्दशी र प्रभावकारी बनाउन सुझाव दिए।
उनले मधेश प्रदेशका सवै वस्तिहरुका विद्युतिकरण भइसकेपनि कतिपय गरिव तथा विपन्न घरपरीवार विद्युत् मिटरलिन नक्ने अवस्थाका रहेकोले प्राधिकरण वितरण प्रकृया थालेको बताए।
सोही क्रममा उनले १८ घण्टा लामो लोडसेडिङ्को अन्त्यगर्न प्राधिकरण सफल भएकोजनाउँदै अवको दिनमा प्रभावकारी सेवा प्रवाहगर्ने प्राधिकरणको दायित्व रहेको बताए।
प्राधिकरणले स्थानीय तहको साझेदारीमा सवै किसानको खेतैमा पुग्नेगरी विद्युतिकरण गर्ने जनाए। उनले भने, ‘प्राधिकरणले स्थानीय सरकार र प्राधिकरणको ५०–५० प्रतिशतमा कृषि विद्युतिकरणको योजना पनि ल्याएको छ। हामीले स्थानीय तहहरुसँग समन्वय पनि गरिरहेका छौं।’
कार्यक्रममा मिर्चैया वितरण केन्द्रका प्रमुख मनोज कुमार शर्माले विद्युत मिटर जडान गर्न नसक्ने विपन्न परीवारलाई प्राधिकरणले सामाजिक दायित्व अन्तर्गत निशुल्क मिटर प्रदान कार्य आजबाट सुरुभएको बताए। आजबाट सुरुभएको वितरण कार्य असार मसान्तसम्म चल्ने प्रमुख शर्माले जानकारी दिए।
वितरणकेन्द्रका सेवाक्षेत्रभित्र पाँचसय ग्राहलाई निशुल्क विद्युत मिटर र एमसीवी दिने कार्यक्रम रहेको जनाए। वडाहरुले दिएको विपन्न सिफारिसको आधारमा मिडर दिने उनको भनाई थियो।
तर, आफ्नो नाममा जमिन नभएकाहरुले भने एक हजार रुपैयाँ धरौटी राख्नुर्ने बताए। एनले भने, ‘जमिन आफ्नै नाममा भएकाहरुले लालपुर्जाको फोटो कपी र वडाको सिफारिस ल्याउँदा हुने र लालपुर्जा नभएकाहरुले वडाको सिफारिसमा निस्शुल्क मिटर जडान गरिदिने बताए। |
विरिङ नदीको पुल निर्माण अन्तिम चरणमा झापा। हुलाकी राजमार्गको झापा सडकखण्डमा रहेको विरिङ नदीको पक्की पुल निर्माण अन्तिम चरणमा पुगेको छ।
पूर्व–पश्चिम राजमार्गको विकल्पका रूपमा बनिरहेको सडकको सो पुल चालु आर्थिक वर्षको असार मसान्तसम्ममा सञ्चालनमा ल्याउने योजनाका साथ काम भइरहेको हुलाकी राजमार्ग योजना कार्यालय इटहरीका इन्जिनियर प्रमोद खतिवडाले बताए।
विसं २०६८ मै पुल निर्माण सुरु भएको हो। पुल निर्माण सुरुको १२ वर्षपछि बल्ल काम अन्तिम चरणमा पुगेको उनले बताए। सुरुमा ठेक्का लिएको ठेकेदार कम्पनीको लापारवाहीले पुल निर्माण ढिलो भएको उनको भनाइ छ। उनका अनुसार दुई वर्षअघि पुल निर्माणको काम पप्पु जेभीको पार्टनर महादेव खिम्तीले लिएको छ।
उनले खोलामा पानीको बहाव ६ महिनासम्म बढी हुने भएको कारण पुलको निर्माणमा ढिलाइ भएको बताए। “वर्षा सुरु हुनेबित्तिकै खोलामा पानीको बहाव बढ्छ। नदीमा पानी बढी भएको बेला काम गर्न सकिँदैन। वर्षमा ६ महिनामात्र काम हुने हुँदा र ठेकेदारको ढिलासुस्तीले गर्दा झनै ढिलो भइरहेको छ।”
इन्जिनियर खतिवडाले पुलको ९८ प्रतिशत काम सकिँदा भने वित्तीय प्रगति ७० प्रतिशतमात्र भएको बताए। राष्ट्रिय गौरवको आयोजना भएता पनि आर्थिक स्रोतको सुनिश्चित नहुँदा वित्तीय प्रगति कम भएको हो। उनले रु ३६ करोड बढीको लागतमा निर्माण भइरहेका पुलमाथि १९ वटा स्लाब लगाउनुपर्नेमा ११ लगाइसकिएको र बाँकी आठवटा लगाउने काम भइरहेको बताए।
“विगतको तुलनामा ठेकेदार कम्पनीको काम अलि स्लो भयो”, उनले भने, “सकेसम्म असार मसान्त नभए पनि भदौ असोजदेखि पुलमाथिबाटै सवारी कुद्ने वातावरण बन्छ”, समयमै पुल नबन्दा प्रत्येक वर्ष वर्षात्को समयमा स्थानीयवासीले बाँसको टाटीको अस्थायी पुल बनाएर खोलाबाट आवतजावत गर्र्दै आएका छन्।
उनले सो सडकमा पर्ने कनकाई नदी र रतुवा खोलामा समेत पुल निर्माणको काम धमाधम भइरहेको बताए। राष्ट्रिय गौरवको योजनाको रूपमा रहेको राजमार्गको झापा खण्ड ४८ किलोमिटर छ भने यहाँ आठ ठूला साना नदी छन्। जसमध्ये कन्काई, विरिङ र रतुवा नदीबाहेक अन्यमा पुल निर्माणको कार्य सम्पन्न भइसकेको इन्जिनियर खतिवडाले जानकारी दिए। – रासस |
बीस महिनाको काम चार महिनामै ! म्याग्दी। ढिलासुस्तीका कारण विकास आयोजना अलपत्र बन्ने र समयमा पूरा नहुने समस्या बढिरहेको अवस्थामा २० महिनाको ठेक्का अवधि भएको म्याग्दीको एउटा आयोजना निर्माणको काम चार महिनामै पूरा भएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको रुपाताल संरक्षण एकीकृत विकास परियोजनाले सञ्चालन गरेको म्याग्दीको बेनी नगरपालिका–२ को भसभसेको कटान र पहिरो नियन्त्रण योजना लक्ष्यभन्दा १६ महिना अगाडि सम्पन्न भएको हो।
निर्माण व्यवसायीको इच्छाशक्ति, सम्बन्धित कार्यालयको समन्वय, सहजीकरण, निगरानी तथा आयोजना निर्माणस्थलमा सहजरूपमा काम गर्ने वातावरण भएमा विकास आयोजनामा ढिलासुस्ती हटाएर समयमै पूरा गर्न सकिने सन्देश यो आयोजनाले दिएको स्थानीयवासी नेत्रबहादुर महतले बताए।
“म्याग्दीका धेरै आयोजना ढिलासुस्तीले थलिएका र अलपत्र बनेको अवस्थामा भसभसेको पहिरो र नदी नियन्त्रणको काम छिटो सकिएकामा खुसी लागेको छ”, उनले भने, “अरु आयोजना र निर्माण व्यवसायीले पनि यसरी नै समयमै काम गरिदिएमा विकासले गति लिने थियो।”
भसभसे पहिरो र म्याग्दी नदी कटान नियन्त्रणका लागि कम्पोजिट पर्खाल निर्माण गर्न हिमालयन कन्ट्रक्सनले गत फागुनमा रु दुई करोड ६० लाखमा ठेक्का सम्झौता गरेको थियो। कम्पनीका प्रतिनिधि सागर रेग्मीले ८१ दशमलव पाँच मिटर लामो पर्खाल निर्माण गर्ने काम गत हप्ता सकिएको जानकारी दिए।
“आर्थिक क्षेत्रमा देखिएको असहजता, निर्माण सामग्रीको मूल्यवृद्धिका बाबजुद खोला किनारको काम गर्न चुनौती थियो। ठेक्कालगत्तै पर्याप्त मजदुर र उपकरण परिचालनका साथै निर्माण सामग्री जुटाएर चार महिनामै पूरा गरेका छौँ”, उनले भने, “स्थानीयस्तरमा पनि काम गर्ने वातावरण भएकाले सहज भयो।”
बाढीको कटान रोक्न म्याग्दी नदी किनारको जमिनभित्र चार मिटर चौडाइ र २.५ मिटर पक्की आरसिसी पर्खाल बनाइएको छ। पक्की पर्खालको माथिपट्टि तीन मिटर अग्लो ग्यावियन पर्खाल लगाइएको छ। म्याग्दी नदीको किनारमा निर्माण गरिएको पर्खालले कटानका साथै बेनी–बागलुङ सडकमा पर्ने भसभसेको पहिरो रोकथाममा सहयोग पुग्ने रुपाताल संरक्षण एकीकृत विकास परियोजनाका इन्जिनियर कृष्णबहादुर विश्वकर्माले बताए।
उनका अनुसार परियोजनामार्फत म्याग्दीको सदरमुकाम बेनी र आसपासका क्षेत्रमा कटान र बाढी नियन्त्रण गर्न यस वर्ष करिब रु ५० करोड बजेटमा आठवटा आयोजना सञ्चालन भएका छन्। कालीगण्डकी र म्याग्दी नदीको दोभानमा अवस्थित बेनी बजारमा कटान र बाढी नियन्त्रण गर्न एकैसाथ आठ ठाउँमा नियन्त्रणको काम भइरहेको हो। बेनीलाई सरकारले नदी कटानका हिसाबले जोखिमयुक्त जिल्ला सदरमुकामको सूचीमा राखेको छ। – रासस |
सङ्खुवासभाको हेवाखोलाको बाढीले सात घर बगायो : १७ जना सम्पर्कविहीन किमाथांका। सङ्खुवासभाको हेवाखेलामा गए राति आएको बाढीले सात घर बगाएको छ। अविरल वर्षासँगै आएको बाढीले हेवाखोला किनारका सात घर बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
वर्षासँगै आएको बाढीले सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १७ मजदुर सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए।
बाढीले बगाएका अप्पर हेवाखोला हाइड्रोपावरमा काम गर्ने एक मजदुरको शव पाँचखपन नगरपालिका-५ खोला किनारमा फेला परेको प्रहरीले जनाएको छ। प्रहरी प्रमुख गोदारका अनुसार शवको पहिचान हुन बाँकी छ।
बाढीले चैनपुर-४ मा निर्माण भइरहेको सुपर हेवा हाइड्रोमा पूर्णरूपले क्षति पुगेको छ। बाढीले पाँचखपन र चैनपुर जोड्ने निर्माणाधीन मोटरेबल पुलमा क्षति पुर्याएको छ।
घटनाको जानकारी लिन प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की, सुरक्षा निकायका प्रमुखको टोली घटनास्थलतर्फ लागेको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय चैनपुर र सशस्त्र प्रहरीको टोली खटिएका छन्। घटनाको थप विवरण आउन बाँकी छ।
हेर्नुहोस् भिडियो:
|
पाँचथरको बाढीमा ५ जना बेपत्ता, ठूलो परिमाणमा भौतिक संरचनामा क्षति पाँचथर। अविरल वर्षासँगै आएको बाढीले पाँचथरमा ५ जना बेपत्ता भएका छन्। एक जनाको भने उद्धार गरिएको छ। हेवा खोलामा आएको बाढीमा परी उनीहरु बेपत्ता भएका हुन्। बाढीले ठूलो परिमाणमा भौतिक संरचनामा क्षति पुर्याएको छ।
हेवा खोलामा आएको बाढीमा परेर हिलिहाङ-७ का दिलकुमार तामाङ र फिदिम-१० का सन्जोग लोवा बेपत्ता भएका छन्। उनीहरू स्थानीय हेवा ‘ए’ जलविद्युत् आयोजनामा कार्यरत थिए। उनीहरू मध्यरातदेखि सम्पर्कविहीन भएको बताइएको छ।
बाढीले फिदिम-४ हेवा खोलामा गिटी कुटेर गुजारा चलाउँदै आएका समेत गरी ५ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक हरि खतिवडाले जानकारी दिए।
बाढीले मेची राजमार्गअन्तर्गत पाँचथर र ताप्लेजुङ जाने बाटोमा पर्ने हेवा खोला पुल बगाएको छ।
यस्तै फालेलुङ गाउँपालिकाको लुमाङदिन र घुमाउनेमा दुईवटा मोटरेबल र एउटा झोलुंगे पुल बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। यस्तै याङवरक गाउँपालिकामा ८ वटा घरहरू बगाएको प्रहरीले जनाएको छ।
सबै तस्वीर सुरेन्द्र सुवेदी/डिसी नेपाल |
ताप्लेजुङमा बाढीले तीन घर बगायो, दोभान बजार जोखिममा ताप्लेजुङ। अबिरल वर्षासँगै आएको बाढीले ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित आङ्खोपमा तीन घर बगाएको छ। गए राति इङ्वाखोलामा आएको बाढीले प्रेम सेलिङ, महेश्वर सेलिङ र गणेश सेलिङको घर बगाएको स्थानीय शिक्षक चैतन्य बुढाथोकीले जानकारी दिए।
उनका अनुसार सोही क्षेत्रका डिल्ली सेलिङ, रामबहादुर सेलिङ र मीन बुढाथोकीको घर जोखिममा छन्। वर्षासँगै आएको बाढी बस्तीतर्फ पसेपछि घर छाडेर सुरक्षित क्षेत्रमा सरेकाले मानवीय क्षति भएको छैन।
बाढीले इङ्वाखोला जलविद्युत् आयोजनामा समेत क्षति पुगेको छ। खोला किनारको खेतीयोग्य जमिनसमेत बगाएको छ भने केही पशुचौपायासमेत बगाएको जनाइएको छ।
यसैगरी मैवाखोलामा आएको बाढीले दोभानबजार जोखिममा परेको छ। बाढीले बजार क्षेत्र कटान गरेपछि दुई घर उच्च जोखिममा रहेको स्थानीय प्रदीप पोखरेलले बताए। उनका अनुसार दीपक धिताल र सुकबहादुर लिम्बूको घर उच्च जोखिममा छन्।
बाढी सामान्यतया घटे पनि पानीको बहाव घटेको छैन। मध्यरातमा बाढी आएपछि बजारका आधाजसो घरपरिवार अन्तै सरेका छन्। बाढीले मेरिङ्देन गाउँपालिकातर्फ जाने खोला किनारको सडकसमेत बगाएपछि बाटो पूर्णरूपमा अवरुद्ध बनेको बताइएको छ।
मैवाखोला-२ र ५ नं वडा जोड्ने खार्तेखोलाको झोलुङ्गे पुल बगाएको स्थानीयले बताए। रातभर अत्यधिक वर्षासँगै ठाउँ-ठाउँमा बाढी र पहिरो झरेपछि जिल्लाका अधिकांश गाउँघरका मानिस रातभर नै जाग्राम बस्नुपरेको छ।
जिल्लाका सबै ठाउँमा वर्षा भएको थियो। बिहीबार रातिमात्र सिरीजङ्घा गाउँपालिकाको याम्फुदिनमा बाढीले क्षति पुगेको थियो। यहाँका पाँचवटा सरकारी कार्यालय स्थानान्तरण गरिएको छ भने १५ घरपरिवार अन्तै सरेर बसेका छन्।
यसैबीच मेची राजमार्गअन्तर्गत हिलिहाङ र फिदिम नगरपालिका जोड्ने हेवाखोलामा आएको बाढीले पुल बगाएपछि मेची राजमार्गसमेत पूर्णरूपमा अवरुद्ध भएको जनाइएको छ। रासस |
आजदेखि सामुदायिक बिद्यालय अनिश्चितकालीन बन्द हुने! काठमाडौं। आजदेखि अनिश्चितकालिन सामुदायिक विद्यालय बन्द हुने भएको छ। नेपाल विद्यालय कर्मचारी परिषद्ले आइतबारदेखि अनिश्चितकालिन सामुदायिक विद्यालय बन्द गर्न लागेको हो।
बिद्यालय बन्दको कार्यक्रम कार्यान्वयन गराउनका लागि परिषद्का महासचिव शान्तिनाथ योगीले शुक्रबार ७७ वटै जिल्ला कार्यसमिति र ७५३ स्थानीय पालिका कार्यसमितिलाई सर्कुलर पठाईसकेका छन्।
परिषद्ले सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुको विभिन्न सेवा सुविधासहित पेशागत स्थायित्वको माग राख्दै केही समयदेखि आन्दोलन गर्दै आइरहेको छ।
आन्दोलनकारी शिक्षकहरुका अनुसार पहिलो र दोस्रो चरणका कार्यक्रमहरु सम्पन्न भईसक्दा समेत आफनो माग प्रति सरकार गम्भिर नभएको तथा आन्दोलनको क्रममा उल्टै प्रहरी दमन गरेपछि पूर्वनिर्धारित कार्यक्रम अनुसार असार ३ गतेदेखि सामुदायिक विद्यालय बन्द गराउन लागिएको हो।
आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रमको बुदाँ नम्बर १२७ मा सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुको सेवा सुविधाका विषय सम्बोधन गरे पनि बजेट बक्तब्यमा भने उक्त विषय छुटाए पछि परिषद् आन्दोलनमा उत्रिएको हो।
|
सूचना तथा प्रविधिको बढ्दो प्रयोगसँगै सुरक्षा आजको मुख्य चुनौती : मन्त्री शर्मा देउखुरी । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले साइबर सुरक्षासम्बन्धी कमजोर कानुनका कारण आम नागरिकदेखि सरकारकै सूचनाको गोपनीयतामा चुनौती थपिएको बताएकी छन् । दाङको घोराहीमा सञ्चार, साइबर सुरक्षा नीति र कानुन विषयक राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै उनले सूचना तथा प्रविधिको बढ्दो प्रयोगसँगै यसको सुरक्षा अहिलेको मुख्य चुनौती भएको बताइन् ।
सरकारका प्रवक्तासमेत रहेकी मन्त्री शर्माले सरकारले साइबर सुरक्षासम्बन्धी कानुन निर्माण गर्न लागेको जानकारी दिइन् । प्रविधिको गलत प्रयोगका कारण बालबालिका, किशोर–किशोरीदेखि आम नागरिकमा विभिन्न खालका समस्या सिर्जना भएको उल्लेख गर्दै उनले कानुन निर्माणसँगै सामाजिक सञ्जालको प्रयोगसम्बन्धी सर्वसाधारण नागरिकलाई चेतना प्रवाह गर्न आवश्यक रहेको बताइन् ।
सामाजिक सञ्जालको गलत प्रयोगको सिकार नागरिक हुनुपरेको बताउँदै उनले सूचना प्रविधि तथा सामाजिक सञ्जालका बारेमा सबै सचेत हुनुपर्नेमा जोड दिइन् । नेपाल टेलिकमले दाङ जिल्लाभित्र सञ्चारको अवस्था कस्तो छ भनेर अनुसन्धान गरेको जानकारी दिँदै मन्त्री शर्माले भनिन्, “सूचना र प्रविधित्रमा सबैलाई पहुँच हुनुपर्छ । कुन स्थानमा के आवश्यकता छ ? आवश्यकताअनुसार हामी काम अगाडि बढाउनेछौँ ।”
उनले नेपालमा सूचना प्रविधिको प्रयोगलाई बढाउँदै आयआर्जनका माध्यमबाट समृद्ध राष्ट्र निर्माण गर्न सकिने विश्वास व्यक्त गरिन् । त्यसका लागि सूचना र प्रविधिसँगै सामाजिक सञ्जालको सही प्रयोगसम्बन्धी आम नागरिकलाई ज्ञान हुनुपर्ने मन्त्री शर्माले बताइन् । राप्ती इन्जिनिरिङ कलेज सञ्चालक समितिका अध्यक्ष डा शैलेन्द्र गिरीको अध्यक्षतामा भएको सम्मेलनले कम्प्युटर, सूचना प्रविधि, साइबर सुरक्षा, नीति र कानुनका विषयमा सहभागीबीच छलफल, ज्ञान आदान–प्रदान गरिएको थियो ।रासस |
हेटौँडा उपमहानगरले ल्यायो दुई अर्ब ६० करोडको बजेट मनहरी। हेटौँडा उपमहानरगपालिकाले आगामी आर्थिक वर्ष २०८०\८१ का लागि नीति तथा कार्यक्रम कार्यान्वयनका लागि रू दुई अर्ब ६० करोड ६५ लाख ४० हजार आठ सय अनुमानित बजेट विनियोजन गरेको छ ।
आज आयोजित १३औँ नगर सभाबाट उपप्रमुख राजेश बानियाँले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका हुन् । उनले आगामी आर्थिक वर्षका लागि खर्च ब्यहोर्ने स्रोतमध्ये आन्तरिक स्रोतबाट रू ८३ करोड ६६ लाख ६२ हजार, राजस्व बाँडफाँटबाट रू ५९ करोड १४ लाख १० हजार, प्रदेश सरकारको विभिन्न शीर्षकअन्र्तगत अनुदानबाट रू तीन करोड ३४ लाख ६८ हजार, सङ्घीय सरकारको अनुदानबाट रू एक अर्ब १४ करोड ५० लाखबाट ब्यहोरिने जानकारी दिए।
उपप्रमुख बानियाँले क्षेत्रगत रुपमा नगरभित्रका विकासका लागि बजेट प्रस्तुत गरेका थिए
उपप्रमुख बानियाँले सभामा नगरको प्रगति समीक्षा गर्दै चालु आवमा रू तीन अर्ब ३३ करोड १३ लाख ४५ हजार संशोधित स्वीकृत अनुमान गरेकामा हालसम्म रू एक अर्ब ७० करोड ७२ लाख ३८ हजार ९८८ राजस्व तथा अनुदान सङ्कलन भएको जानकारी दिए।
उनका अनुसार बजेट तथा खर्चको विवरणअन्तर्गत चालुतर्फ रू एक अर्ब ५६ करोड ५८ लाख ५७ हजार विनियोजन भएकामा रू एक अर्ब सात करोड ६६ लाख ७० हजार खर्च भएको छ ।
उपप्रमुख बानियाँले पूँजीगततर्फ कूलरू एक अर्ब ६५ करोड ३९ लाख ८७ हजार बजेट विनियोजन भएकामा हालसम्म रू ७० करोड ७९ लाख १३ हजार खर्च भएको बताए । वित्तीय व्यवस्थातर्फ रू एक करोड १५ लाख विनियोजन भएकामा रू ८५ लाख ६५ हजार खर्च भएको उनले जानकारी दिए। |
हेटौँडाका जनप्रतिनिधिले बाग्मतीका मुख्यमन्त्री र मन्त्रीहरुलाई बहिस्कार गर्ने हेटौँडा । हेटौँडाका जनप्रतिनिधिहरुले बाग्मती प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुको कार्यक्रम बहिस्कार गर्ने भएका छन् । बागमती प्रदेशको राजधानी रहेको हेटौँडा उपमहानगरपालिकाका लागि बजेट नछुटाएको भन्दै जनप्रतिनिधिहरुले बहिस्कार गर्ने घोषणा गरेका हुन ।
सो उपमहानगरपालिकाको वडाध्यक्षहरूले संयुक्त पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री शालिकराम जम्मकट्टेल र मन्त्रीहरूलाई बहिष्कार गर्ने घोषणा गरेको जानकारी दिए । प्रदेश सरकारले राजधानी हेटौँडाको विकास निर्माणका लागि बजेट विनियोजन नगरेको उनीहरुको आरोप छ ।
प्रदेश सरकारले शुक्रबार ६३ अर्ब ६० करोडको बजेट ल्याएको थियो । सो बजेटमा कर्रा करिडोरका लागि १५ करोड विनियोजन गरे पनि हेटौँडाको अन्य विकास पुर्वाधारका लागि बजेट नछुटाए पछि उनीहरु विरोधमा उत्रेका हुन । उनीहरुका अनुसार हेटौँडा नगर क्षेत्र भित्र हुने हुने सार्वजनिक कार्यक्रममा मुख्यमन्त्री र मन्त्रीहरू सहभागी भए उनीहरूलाई कालो झण्डासमेत देखाउँदै बहिष्कार गरिनेछ ।
हेटौँडा १४ का वडाध्यक्ष दीपक खड्काले राजधानीको विकासका लागि बजेट विनियोजन नगरेको भन्दै आफूहरूले प्रदेशका मन्त्रीहरूलाई सार्वजनिक कार्यक्रममा कालो झण्डा देखाउने र बहिष्कार गर्ने तयारीका साथ अघि बढ्न बाध्य भएको जनाए । उनका अनुसार प्रदेश सरकारको बजेट पूर्वाग्राही ढंगले आएको भन्दै बजेट नसच्चिए कडा रुपमा प्रस्तुत हुनेछन । |
अत्यधिक गर्मीले धानको बीउ सुक्यो, किसान चिन्तित बाँके। दैनिक बढिरहेको गर्मीले धानको बीउ सुक्न थालेपछि यहाँका किसान चिन्तित भएका छन् ।
आकाशे पानीको भर परेका किसान अत्यधिक गर्मीका कारण धानको बीउ सुक्दै गएपछि मर्कामा परेका हुन् । असार लागिसक्दा पनि पानी नपरेपछि यस वर्ष धान उत्पादनमा कमी आउने किसानले आकलन गरेका छन् ।
बाँके सीतापुरका सर्वजित विष्टले घरमा भएको विद्युतीय मोटर कम भोल्टेजका कारण नचल्दा यस वर्ष खेतीका लागि सिँचाइ गर्न गाह्रो भएको बताए।
“मेरो घरमा मोटर भए पनि कम भोल्टेजका कारण मोटरले पानी नै तान्दैन”, उनले भने, “बल्लबल्ल ‘स्टेप्लाइजर’को सहायतामा पानी तानेर बीउ राखेकामा अहिले सिँचाइ नगर्दा बीउ सुक्दै गएको छ ।” असारको पहिलो सातादेखि रोपाइँ गर्ने उद्देश्यले विष्टले जेठको दोस्रो साता धानको बीउ राखेका थिए।
असार लागिसक्दा पनि पानी नपरेपछि धानको बीउ सुकेर खजुराका लालबहादुर खत्री चिन्तित छन्। उनले छिमेकीको मोटरबाट पानी तानेर बीउ राखेका थिए। बीउलाई पटक पटक सिँचाइ गर्नुपर्ने भए पनि पानी नपर्दा बीउ राखेको जमिन चिराचिरा भएर चर्किन थालेको खत्रीले बताए।
“बीउ त छिमेकीको मोटरबाट पानी तानेर राखियो । असार लागिसक्दा पनि आकाशबाट पानी परेको छैन । बीउ सुक्न थालिसक्यो । बीउ रोखेको जमिन चिरा परेको छ”, उनले भने।
बाँके बैजनाथका किसान मानबहादुर परियारले आकाशे पानीको पखाइमा धानको बीउ राख्न ढिला भएपछि हाते पम्प चलाएर बीउ राखेको बताए।
“घरमा मोटररबोरिङ केही पनि छैन । पानी नपरेपछि हाते पम्प चलाएर बीउ राख्यौँ”, उनले भने, “तीनपटक हाते पम्प चलाएर बीउमा पानी चारेर जसोतसो पानी पुर्याइरहेका छौँ । रोपाइँ कसरी गर्ने हो भन्ने चिन्ता लागेको छ ।”
आकाशे पानीको भरमा खेती गनुपर्ने भएकाले धान खेती प्रभावित हुन सक्ने उनले चिन्ता व्यक्त गरे।
“गत वर्ष बाँकेको नरैनापुर क्षेत्रलाई सुक्खा क्षेत्र घोषण गरिएको थियो । यस वर्ष जिल्ला पूरै सुक्खा हुने चिन्ता यहाँका किसानलाई पर्न थालेको छ”, कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख शकिल अहमदले भने।
सिँचाइको उपलब्धता विना आकाशे पानीको भरमा खेती गर्ने किसानलाई पछिल्लोपटक बढ्दै गएको गर्मीले निराश बनाएको उनको भनाइ थियो ।
प्रमुख अहमदले सिक्टा सिँचाइ आयोजनाले बाँकेको महादेवपुुरी, राप्तिसोनारी र बैजानाथमा पानी छोडे पनि त्यो किसानका लागि पर्याप्त नहुने बताए।
“मनसुन समयमा नहुँदा सिक्टाले केही भागमा पानी छोडे पनि सिँचाइका लागि त्यो पानी पर्याप्त छैन,” उनले भने, “सिक्टाबाट छोडिएको पानी नहर आसपासका खेतलाई मात्र पुग्छ । पूरै जिल्ला सिञ्चित हुँदैन । नहर आसपासका किसानलाई भने केही राहत मिल्छ ।”
जिल्लामा धान रोपाइँ हुने कूल ३६ हजार पाँच सय हेक्टर खेतीयोग्य जमिन छ । गत वर्ष सोही क्षेत्रफल खेतमा धान खेती गरिएको थियो।अहिले पनि सबै क्षेत्रफलमा धान खेती हुने अनुमान रहेको केन्द्रले जनाएको छ ।
असारको पहिलो सातासम्म मनसुन सक्रिय भएमा उत्पादनमा असर नहुने प्रमुख अहमदले बताए। उनले रोपाइँ गरिसकेपछि साउन र भदौमा समेत निरन्तर वर्षा भएमा धान उत्पादन राम्रो हुने बताए। मनसुन अनुकूल नभएकाले किसानलाई कम समयमा उत्पादन हुने र सुक्खा सहन सक्ने जातको बीउ लगाउन सुझाव दिए। रासस |
अझै बनेन दोदा नदीमा पक्की पुल कञ्चनपुर। कञ्चनपुरको लालझाडी गाउँपालिका–४ स्थित दोदा नदीमाथिको पक्की पुल निर्माणको काम आठ वर्षदेखि अलपत्र छ। निर्माण सुरु भएको आठ वर्षमा उक्त पुलका तीन पिल्लर मात्रै ठडिएका छन् ।
वर्षौंदेखि देखतभुली–पर्सीया जोड्ने पक्की पुल निर्माण अलपत्र भएपछि लालझाडी गाउँपालिका ओहोरदोहोर गर्न स्थानीयले सास्ती खेपिरहेका छन्। विसं २०७२ पुस २६ गते तीन वर्षभित्र सक्ने गरी लुम्बिनी राजेन्द्रकुमार श्रेष्ठ जेभी कम्पनीसँग पक्की पुल निर्माणको सम्झौता भएको थियो।
त्यसपछि पटक पटक म्याद थप हुँदा पनि अहिलेसम्म पक्की पुल निर्माण हुन सकेको छैन। पक्की पुलको पिल्लरको फाउण्डेसन परीक्षणका क्रममा त्रुटि देखिएपछि निर्माण रोकिएको सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी इन्जिनियर पियुष चटौतले जानकारी दिए।
“निर्माणका क्रममा प्राविधिक त्रुटि देखिएपछि काम रोकिएको हो, त्यसपछि पुलको नयाँ डिजाइन गरिएको छ”, उनले भने, “बारम्बार ताकेता गर्दा पनि अझै पुल निर्माणको काम सुरु भएको छैन ।”
उक्त पक्की पुल रु २४ करोड ५२ लाखको लगानीमा निर्माण भइरहेको थियो । यसमध्ये अहिलेसम्म रु १२ करोड रकम भुक्तानी भइसकेको छ । त्रुटि देखिएपछि सोही पुलको नजिकै अर्को पुल बनाउने भनेर निर्माण कम्पनीले विसं २०७८ मा डिजाइनसमेत बनाएको थियो । त्यसपछि अझै पुल निर्माणको काम अघि बढ्न सकेको छैन ।
पक्की पुल निर्माण नहुँदा स्थानीय काठको अस्थायी पुलमा पैसा तिरेर नदी ओहोरदोहोर गर्ने गर्छन् । “पक्की पुल निर्माण नहुँदा वर्षौंदेखि नदी तर्न काठको पुलको पुल प्रयोग गर्दै आएका छौँ, यो पुल पनि अब जीर्ण बन्दै गएको छ”, शुक्लाफाँटा नगरपालिका–११ देखतभुलीकी प्रेमा रानाले भनिन्, “पक्की पुल निर्माण नहुँदा निकै सास्ती छ ।”
दोदा नदीमा पक्की पुल नहुँदा वर्षौंदेखि यहाँका स्थानीय शुल्क तिरेर काठको अस्थायी पुलमा यात्रा गर्ने गरेको लालझाडी गाउँपालिका–४ सिखलपट्टीका कमल साउदले बताउए। “वर्षौं भइसक्दा पनि शुल्क तिरेर काठको पुलबाट नदी वारपार गर्ने बाध्यता हटेन, पक्की पुल भएर आउजाउ पर्ने सपना नै छ”, उनले भने, “चुनावमा जहिले पनि नेताहरू पुल बनाउँछु भन्छन्, जितेर गएपछि बिर्सिन्छन् ।”
स्थानीयले काठको पुल प्रयोग गरेबापत साइकलको रु १० र मोटरसाइकलको रु ३० शुल्क तिर्ने गरेका छन् । बर्खामा बाढी आउने हुनाले जिल्लाको दुर्गम क्षेत्रअन्तर्गत पर्ने लालझाडीसँगको सम्पर्कविच्छेद हुन्छ । मङ्सिरदेखि जेठसम्म मात्रै काठको जीर्ण पुलको सहायताले नदी वारपार गर्न सकिन्छ ।
दोदामा पक्की पुल निर्माण भए दक्षिणी क्षेत्रलाई मूलधारमा जोड्नुका साथै स्थानीयलाई सहज हुने लालझाडी गाउँपालिका–४ का सेमलाल रानाले बताए।
“चाँडो पक्की पुल निर्माण हुनुपर्छ, यसले जिल्लाको दुर्गम दक्षिणी क्षेत्रलाई मूलधारसँग जोड्ने छ”, उनले भने, “यसले यहाँका स्थानीयलाई आवतजावतमा पनि सहजता थप्नेछ ।” |
सवारी दुर्घटनामा पूर्व नगरप्रमुख गिरीको निधन वालिङ। गए राति स्याङ्जामा भएको सवारी दुर्घटनामा चापाकोट नगरपालिकाका पूर्वप्रमुख शिव गिरीको मृत्यु भएको छ।
बा१५च १७०९ नम्बरको ‘स्कारपियो’ अनियन्त्रित भई दुर्घटना हुँदा प्रमुख गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता रवीन्द्र खनालले जानकारी दिए। चापाकोट-४ दार्सिङ बस्ने ६० वर्षीय गिरीलाई जिल्ला अस्पताल स्याङ्जाले ११ः४० मा मृत घोषणा गरेको थियो।
राङखोलाबाट स्याङ्जातर्फ जाँदै गरेको स्कारपियो गए राति ११ बजे पुतलीबजार-१० राङखोलास्थित सिद्धार्थ राजमार्गमा दुर्घटनामा परेको थियो।
प्रहरीले पुतलीबजार-९ कोल्मा बस्ने ३२ वर्षीय सवारी चालक सुरज नेपाली तथा स्कारपियो नियन्त्रणमा लिएको प्रवक्ता खनालले बताए।
|
पोखरा विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडान सिचुआन एयरलाइन्सले भर्ने कास्की। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनियाँ विमान कम्पनी सिचुआन एयरलाइन्सले पहिलो अन्तर्राष्ट्रिय उडान भर्ने भएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरण र सिचुआन एयरलाइन्सबीच यसका लागि आज सम्झौता भएको हो । प्राधिकरणका अनुसार सिचुआन एयरलाइन्सले आगामी जुन २१ (असार ६)मा चार्टर्ड उडानका लागि अनुमति पाएको हो। उक्त एयरलाइन्सले चीनको छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्नेछ।
“चीनको सिचुआन एयरलाइन्सलाई चीनको छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी जुन २१ मा चार्टर्ड उडानका लागि अनुमति प्रदान गरिएको छ । एयरलाइन्ससँग उडान नियमितताका लागि छलफल चलिरहेको छ”, प्राधिकरणले भनेको छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल गत जनवरी १ (पुस १७)मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुभएको थियो । विमानस्थल रु २२ अर्ब लगानीमा निर्माण भएको हो। |
पाल्पाका सबै पालिका पूर्ण खोप सुनिश्चित घोषणा तानसेन । पाल्पा पूर्ण खोप सुनिश्चित बनेको छ । दश स्थानीय तहका बालबालिका खोपको पहुँचमा आएसँगै सबै पालिका पूर्ण खोप दिगोपना सुनिश्चित पालिका बनेका छन् ।
विसं २०७० फागुन १३ गते पाल्पालाई नेपालकै पहिलो पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको थियो । चालु आर्थिक वर्षमा पनि जिल्लाका सबै पालिका जेठ मसान्तभित्र पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा गरिएको छ ।
खोप लगाउन छुट भएका बालबालिकाको स्वास्थ्यकर्मीले घर घरमा पुगेर खोजी गरी खोप लगाइएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । नेपाल सरकारले तोकेको मापदण्ड पूरा गरेपछि जिल्लाका सबै पालिका पूर्ण खोपयुक्त पालिका घोषित गरिएको हो ।
खोप लगाउन छुटेका बालबालिकालाई स्वास्थ्यकर्मीले खोजी गरी खोपको पहुँचमा ल्याएसँगै पूर्णखोप दिगोपना सुनिश्चित जिल्ला बनाउन सकिएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा राजेन्द्रकुमार गिरीले बताए । उनले खोप पूर्ण रुपमा निःशुल्क हुँदाहुँदै पनि नेपालमा विविध कारणले चार प्रतिशत बालबालिकाले पूर्ण मात्राबाट बञ्चित हुने गरेको बताए ।
“यसवर्ष खोज र खोप अभियानसमेत चलाएको हँुदा नियमित खोप लगाउन छुटेका बालबालिकालाई खोपको पहुँचमा ल्याइएको छ”, उनले भने ।
अभिभावकले बालबालिकालाई खोप नियमित लगाउन महत्व नदिएको हुँदा स्वास्थ्यकर्मी आफैँले अभिभावकलाई फोन गरेर बोलाउनुपर्ने परिस्थिति रहेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।
अझै पनि केही अभिभावकमा आफ्ना बालबालिकालाई नियमित खोप लगाउनुपर्छ भन्ने मानसिकताको विकास हुन नसकेको रामपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरेले बताए । उनका अनुसार रामपुरमा पाँच जना बालबालिकामध्ये तीन धार्मिक कारण देखाउँदै खोपको पहुँचमा नआएको, दुई बालबालिका आंशिक बसाइ रहेकाले खोपबाट वञ्चित भएको पाइएको छ ।
मापदण्डअनुसार बच्चा जन्मेको १५ महिनाभित्र विभिन्न १४ प्रकारका खोप लगाउनुपर्छ । पाल्पामा यो वर्ष पहिलो पटक खोप सुरु गर्ने तीन हजार ८० बालबालिका र पूर्ण खोप पाउने दुई हजार नौ सय २४ रहेका छन् । जिल्लामा २३ महिनादेखि पाँच वर्ष उमेर समूहका दश जना बालबालिकालाई खोप लगाइएको छ ।रासस |
लुम्बिनी प्रदेशले ४० अर्ब ४७ करोडको बजेट ल्यायो (पूर्णपाठ) लुम्बिनी। लुम्बिनी प्रदेश सरकारले ४० अर्ब ४७ करोडभन्दा बढीको बजेट ल्याएको छ।
प्रदेशसभाको शुक्रबार बसेको बैठकमा आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले ४० अर्ब ४७ करोड ९७ लाखको बजेट पेश गरेका हुन्। कुल बजेटमध्ये चालुतर्फ १५ अर्ब ६३ करोड ३० लाख ९९ हजार अर्थात ३३.८७ प्रतिशत विनियोजन गरिएको छ।
पुँजीगततर्फ २३ अर्ब २५ करोड ६९ लाख १ हजार अर्थात ५७.४५ प्रतिशत छ र स्थानीय तहमार्फत वित्तिय हस्तान्तरणमार्फत ३ अर्ब ५८ करोड ९७ लाख अर्थात ८.८७ प्रशितत विनियोजन गरिएको छ। बजेटको स्रोततर्फ आन्तरिक राजश्वबाट ६ अर्ब ७३ करोड ५१ लाख उठाउने लक्ष्य दिइएको छ।
संघीय सरकारबाट राजश्व बाँडफाँटबाट ११ अर्ब ३१ करोड ७४ लाख प्राप्त भएको छ भने रोयल्टी ३९ करोड छ। स्थानीय तहबाट राजश्व बाँडफाँटबाट प्राप्त हुने २ अर्ब ५० करोड ३० लाख प्राप्त हुने अनुमान गरिएको छ।
संघीय सरकारबाट वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब १४ करोड ८३ लाख, सशर्त अनुदानबाट ५ अर्ब ८३ करोड ५९ लाख, समपुरक अनुदानबाट ८४ करोड र विशेष अनुदानबाट ५६ करोड प्राप्त हुनेछ।
चालु आबको मौज्दात ३ अर्ब तथा अन्तरिक ऋणबाट १ अर्ब २५ करोड परिचालन हुने अनुमान प्रदेश सरकारको छ। २ लाख रोजगारी सृजनालाई प्रदेश सरकारले आफ्नो बजेटको प्राथमिकतामा राखेको छ।
प्रमुख प्रतिपक्ष दलका नेता लिला गिरीले कृषिलाई प्राथमिकता दिन नसकेकाले यो बजेटले जनतालाई खास्सै प्रभाव नपार्ने प्रतिक्रिया दिए। प्रदेश सरकारका प्रवक्ता सन्तोष पाण्डेले भने रोजगारी मार्फत समृद्ध प्रदेश बनाइने दावी गरे।
मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदभारग्रहणकै दिन प्रदेशमा २ लाख रोजगारी सृजना गर्ने घोषणा गरेबमोजिम प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेट त्यसमा लक्षित रहेको छ। लुम्बिनी प्रदेश सरकारले रोजगारी सृजना गर्ने कुरालाई नै बजेटको मूख्य विशेषता र नयाँपनको रुपमा भएको बताएको छ।
|
सुदूरपश्चिम प्रदेशको बजेट २९ अर्ब २६ करोड (पूर्णपाठ) सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक बर्षका लागि कुल २९ अर्ब २६ करोड ५९ लाख ३२ हजार बराबरको बजेट प्रस्तुत गरेका छन्।
शुक्रबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले अगामी आर्थिक वर्षका लागि २९ बढिको बजेट प्रस्तुत गरेका हुन्। उनले चालु खर्चतर्फ ९ अर्ब ५९ करोड ६० लाख २ हजार र पुँजीगत खर्चतर्फ १७ अर्ब २ करोड २३ लाख ६० हजार विनियोजन गरेको बताए।
त्यस्तै अन्तर सरकारी वित्त हस्तान्तरण अन्तरगत २ अर्ब ३४ करोड ७५ लाख ७० हजार र वित्तिय व्यवस्थातर्फ ३० करोड हुनेगरी विनियोजनको व्यवस्था उनले बताए।
उनले खर्च व्यहोर्ने स्रोत मध्ये आन्तरिक राजश्वबाट एक अर्ब ५० करोड , ९ अर्ब ४१ करोड , संघीय सरकारबाट राजश्व बाँडफाँड भएर प्राप्त हुने ६ करोड ५६ लाख, वित्तिय समानीकरण अनुदान ८ अर्ब ५२ करोड रहेको सुदूरपश्चिमका आर्थिक मामिला मन्त्री शाहीले जानकारी दिए।
त्यस्तै चालु आर्थिक वर्षको विनियोजनबाट ३ अर्ब ८६ करोड ६७ लाख बचत हुने अनुमान गरिएको मन्त्री शाहीले बताए। |
बागमती प्रदेशले ल्यायो ६२ अर्ब ७० करोडको बजेट, हेर्नुहोस् पूर्णपाठ बागमती। बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ६२ अर्ब ७० करोड ९० लाख ७८ हजारको बजेट प्रस्तुत गरेको छ।
शुक्रबार बागमति प्रदेश सभामा बागमति प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले ६२ अर्व बढिको बजेट प्रस्तुत गरेका हुन्।
कुल विनियोजनमध्ये चालुतर्फ चालुतर्फ २६ अर्ब ७० करोड २७ लाख ६९ हजार, पुँजीगततर्फ ३५ अर्ब ५० करोड ६३ लाख ९ हजार र वित्तीय व्यवस्थातर्फ रु. ५० करोड विनियोजनक गरिएको मन्त्री लामाले जानकारी दिए।
त्यस्तै बजेट कार्यान्वयनका लािग खर्च व्यहोर्ने स्रोतमध्ये कर राजस्वबाट २५ अर्ब १७ करोड २६ लाख, अन्य राजस्वबाट पाँच अर्ब २६ करोड ९४ लाख, संघीय वित्तीय हस्तान्तरणबाट १७ अर्ब ८१ करोड २३ लाख, चालु आर्थिक वर्षको अनुमानित सञ्चित कोषको बचत र अन्य प्राप्तिबाट १४ अर्ब ४५ करोड ४७ लाख व्यहोरिने अनुमान गरेको लामाले बताए।
उनले बजेटमार्फत कृषि क्षेत्रलाई प्राथमिकता दिएको बताए
उनले प्रदेशको सवलीकरण र संस्थागत सुदृढिकरण तथा सुशासन प्रवद्र्धन गर्ने उदेश्यका साथ बजेट तर्जुमान गरिएको बताए।
|
गण्डकी प्रदेशमा ३३ अर्ब ४२ करोड ७२ लाखको बजेट (पूर्णपाठ) गण्डकी। गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०\८१ का लागि ३३ अर्ब ४२ करोड ७२ लाखको बजेट प्रस्तुत गरेको छ।
शुक्रबार गण्डकी प्रदेशसभामा आर्थिक मामिलामन्त्री जितप्रकाश आलेले ३३ अर्ब बढिको बजेट प्रस्तुत गरेका हुन्। जस अन्तर्गत पुँजीगततर्फ २० अर्ब १९ करोड ६२ लाख र चालुतर्फ १२ अर्ब १३ करोड ६७ लाख रहेको छ।
अनुमानित बजेटमध्ये वित्तीय व्यवस्थातर्फ ५० करोड, वित्तीय समानीकरण अनुदानबाट ७ अर्ब ६२ करोड २५ लाख, राजस्व बाँडफाँटबाट ४० करोड, सशर्त अनुदानतर्फत ४ अर्ब ९४ करोड, समपूरक अनुदानतर्फ ८४ करोड, विशेष अनुदानतर्फ ७० करोड प्राप्त हुने अनुमान अर्थमन्त्री आलेले बताए।
बजेट प्रस्तुत गर्दै मन्त्री आलेले आगामी आर्थिक बर्षमा तीन सय किलोमिटर सडक कालोपत्रे गर्ने र २० वटा झोलुङ्गे पुल निर्माण गरिने जानकारी दिए। त्यस्तै आगामी आर्थिक बर्ष लगानी सम्मेलन गरिने उनले बताए।
|
कर्णाली प्रदेशको बजेट ३३ अर्ब ३७ करोड ९७ लाख (पूर्णपाठ) सुर्खेत। कर्णाली प्रदेश सरकारले आगामी आर्थिक बर्षका लागि ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
शुक्रबार प्रदेशसभा बैठकमा आन्तरिक मामिला तथा योजनामन्त्री वेदराज सिंहले ३३ अर्ब बढिको बजेट प्रस्तुत गरेका छन्। उनले चालुतर्फ ९ अर्ब २० लाख २४ हजार र पुँजीगततर्फ १९ अर्ब ९७ करोड ७२ लाख ४३ हजार बजेट विनियोजन गरिएको जानकारी दिए।
त्यस्तै स्थानीय तहको वित्तीय हस्तान्तरणतर्फ ४ अर्ब ८० करोड ४ लाख ४० हजार विनियोजन गरिएको सिंहले बताए। त्यस्तै अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत मध्ये आन्तरिक राजस्वबाट ८३ करोड ६२ लाख, चालू आर्थिक बर्षको खर्च नभइ बचत हुने अनुमानित रकम ७ अर्व ४१ करोड, संघीय सरकारबाट राजस्व बाँडफाँट बापत प्राप्त हुने रु ८ अर्व ८४ करोड र वित्तीय समानीकरण अनुदानबाट प्रापत हुन आएको रु १० अर्व १६ करोड ४१ लाख र सशर्त अनुदानबाट रु ४ अर्व ७५ करोड परिचालन गरिने उनले बताए।
त्यस्तै उनले संघीय सरकारबाट सशर्त अनुदानमा प्राप्त हुने वैदेशिक सहायता बाहेक अन्य वैदेशिक सहायताबाट सञ्चालिन हुने कार्यक्रम कार्यान्वयनका लागि रु १ करोड ८६ लाख ९० हजार स्रोत परिचालन गरिने जानकारी दिए।
|
कर्णालीको बजेटमा यस्ता छन् शहरी विकासका योजना सुर्खेत । कर्णाली प्रदेशका सबै मन्त्रालयको एकीकृत तथा आधुनिक भवन निर्माणका लागि बजेट विनियोजन गरिएको छ । आर्थिक वर्ष २०८०/८१ को लागि आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंहले प्रस्तुत गरेको वार्षिक बजेट तथा कार्यक्रममा शहरी विकास योजनालाई समेटिएको हो । बजेटमा विपन्नको घर निर्माण कार्यक्रम, जनता आवास कार्यक्रमलाई निरन्तरता दिइएको छ ।
वातावरण अनुकुल, अपाङ्गमैत्री भवन निर्माणका लागि कानून तथा मापदण्ड तर्जुमा गर्न आवश्यक रकम बजेट विनियोजन गरिएको मन्त्री सिंहले बताए । जलवायु परिवर्तनबाट हुने विपदलाई कार्यान्वयन गर्दै हिमाली संकटग्रस्त क्षेत्र घोषणा भएका चार जिल्लामा एकिकृत वस्ती विकास आयोजनाका लागि बजेट विनियोजन गरिएको छ ।
साथै, डोल्पाको रिग्म बस्ती विकास कार्यक्रम संचालनका लागि १० करोड रुपैँया विनियोजन गरिएको छ भने हुम्लाको सिमिकोट पूर्वाधार विकास गरी नमूना एकिकृत पूर्वाधार विकासका लागि १८ करोड रुपैँया विनियोजन गरिएको छ । जुम्लाको कनकासुन्दरीमा प्रशिक्षण तालिम केन्द्र भवन निर्माणका लागि बजेट विनियोजन गरिएको छ ।
साथै, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयका लागि १० अर्व ११ करोड ८२ लाख बजेट विनियोजन गरिएको छ । कर्णाली प्रदेश सरकारले प्रदेश अस्पताललाई शिक्षण अस्पतालको रुपमा विकास गर्ने भएको छ । अर्थमन्त्री बेदराज सिहंले शुक्रबार प्रदेश सभामामा आर्थिक वर्ष ०८०/०८१ को बजेट प्रस्तुत गर्दै सो कुरा बताएका हुन् । |
विद्यालय पुग्न साढे दुई घण्टा पैदल ! बलेवा । बागलुङको गलकोट नगरपालिका–१ दुदिलाभटीको हलहलेका अश्विन पुनः बिहान साढे ७ बजे विद्यालय अध्ययनका लागि हिँड्छन् । दुदिलाभाटीमा रहेको चौराहा माविमा कक्षा २ मा अध्ययन गर्ने पुन बिहानै घरबाट ननिस्के समयमा विद्यालय पुग्दैनन् ।
कक्षा ६ मा पढ्ने दाजु रोशन पुनसँगै उनी विद्यालय पुग्छन् । विद्यालय जाँदा ओरालोबाटो साढे दुई घण्टामा विद्यालय पुग्ने पुनका दाजुभाइ घर फर्किंदा भने तीन घण्टा समय लाग्छ । रोशन र अस्विनका कान्छा भाइ भने चौराहा आधारभूत विद्यालय गाभिएपछि बनाइएको बालविकास केन्द्रमा अध्ययन गर्छन् । कक्षा १ पढ्न उनलाई पनि चौराहा मावि नै पुग्नुपर्ने बाध्यता छ ।
गाउँ नजिकै रहेको चौराहा आधारभूत विद्यालय चौराहा माविमा गाभिएपछि अश्विन साढे दुई घण्टाको यात्रा गरेर विद्यालय पुग्न बाध्य भएका हुन् । उनका दाजु रोशन भने कक्षा ३ सम्म चौराहा आधारभूतमा अध्ययन गरेर कक्षा ४ देखि चौराहा माविमा भर्ना भएका हुन् ।
“भएको खेतीपाती सबै यतै छ, बसोबास यतै भएकाले हामी अन्त जान सकेनौँ,” उनीरुका बुबा रोम पुनले भने, “पायकमा विद्यालय नहुँदा बाबुहरुलाई असुविधा भएको छ, नजिकमा भएको विद्यालयसमेत गाभियो, हामी समस्यामा परेका छौँ ।” विद्यालयबाट फर्किंदा छोराहरु थकित भएर फर्किने गरेको उनले सुनाए । स–साना बालबालिकालाई विद्यालय गाभिएपछि नजिकको विद्यालय पुग्न कठिन भएको उनको गुनासो छ ।
चौराहा आधारभूत विद्यालयमा कक्षा ३ सम्म पठनपाठन हुँदै आएको थियो । गलकोट नगरपालिकाले विद्यार्थी सङ्ख्या कम भएका विद्यालय नजिकको विद्यालयमा गाभ्ने मापदण्ड बनाएपछि चौराहा माविमा गाभिएको हो । नगरपालिकाले ‘विद्यालय मर्ज तथा तह मिलान मापदण्ड–२०७९’ तयार गरेर कार्यान्वयनमा ल्याएको छ ।
दुई जनाको दरबन्दी रहेको विद्यालयबाट एक जनाको दरबन्दी गत वर्ष नै अन्य विद्यालयमा समायोजन गरिएको थियो । विद्यालयका प्रधानाध्यापकसमेत रहेका संस्थापक शिक्षक मनबहादुर विकलाई चौराहा माविमा हाजिर हुनेगरी विद्यालय गाभिएको हो ।
“कक्षा १ देखि ३ सम्म चार र बालविकास उमेर समूहका पाँचजना विद्यार्थी थिए,” चौराहा आधारभूत विद्यालयका प्रधानाध्यापक विकले भने, “नगरको निर्देशन मान्नै प¥यो, विद्यालय समायोजन भएपछि हलहलेका बालबालिकालाई विद्यालय पुग्न कठिन भइरहेको छ ।” शिक्षासँग सम्बन्धित कानुनहरुले स–साना बालबालिकाका लागि बढीमा आधा घण्टाको दूरीमा विद्यालय हुनुपर्ने व्यवस्था गरेको छ । तर, भौगोलिक कठिनाइ, स्रोत साधानको अभावलगायतका कारणले बालबालिका घण्टौँ पैदल हिँड्न बाध्य छन् ।
विसं २०४७ मा स्थापना भएको विद्यालयले तत्कालीन समयमा ४५ जना विद्यार्थीलाई पठनपाठन गराएर सेवा दिँदै आएको थियो । बसाइँसराइका कारण गाउँ नै रित्तिएपछि विद्यार्थी सङ्ख्या नपुगेर विद्यालय गाभिने अवस्था आएको विकले बताए । “गाउँमा बस्ती नै छैन्, बच्चा जन्माउने दर निकै कम छ”, विकले भने, “वैदेशिक रोजगारीको सिकार भयो विद्यालय, युवा विदेश गए, परिवारले गाउँ छोडे, परिवारसँगै बालबालिका बजार झर्दा विद्यालय गाभिने अवस्थामा पुग्यो ।” विद्यालय गाभिँदा असहज हुने विद्यार्थीका लागि नगरपालिकाले सवारी साधन भाडा दिने नीति बनाएको छ । तर, विद्यार्थी र अभिभावकले भने त्यस विषयमा कुनै जानकारी नै नरहेको बताउँछन् । “टाढाका विद्यार्थीलाई उपयुक्त व्यवस्था गर्नुपर्ने हो, तर हामीलाई त कसैले हेर्दैन,” अभिभावक रोम पुन भन्छन् । वर्षाको समयमा पुन दाजुभाइलाई विद्यालय पुग्नै कठिन हुने गरेको छ ।
बालमैत्री घोषणा भएको नगरपालिकामा पढ्नकै लागि दैनिक पाँच घण्टा पैदल हिँड्नुपर्ने बाध्यता हुन दुर्भाग्य भएको गलकोटकै एक शिक्षकले बताए । गलकोट नगरपालिकाले केही हप्ता अघिमात्रै तामझामका साथ बालमैत्री नगर घोषणा गरेको थियो ।
गलकोट नगरपालिकाले कुनै स्थान विशेषभन्दा पनि समग्र नगरको अवस्था हेरेर विद्यालय गाभ्ने निर्णय गर्दा केही विद्यार्थीलाई असहज भएको जनाएको छ । “विद्यार्थी नै नभएको ठाउँमा सरकारले खर्चमात्रै गर्ने कुरा भएन, समस्या भएका बालबालिकालाई यातायात खर्च दिने गरी पत्राचार गरेर विद्यालय गाभिएको हो”, नगर शिक्षा अधिकारी रुद्रनारायण सापकोटाले भने, “यातायात खर्च दिँदासमेत समस्या हुने बालबालिकाका लागि आवासीय सुविधा दिने विषयमा समेत छलफल भइरहेको छ ।” विद्यालयभन्दा टाढा रहेका विद्यार्थीका लागि यातायात खर्च उपलब्ध गराउन पाँच सदस्यीय समिति बनेको छ । “सरकारी खर्च त्यसै गर्न मिलेन, विधि बन्दैछ, हामी खर्च उपलब्ध गराउँछौँ”, उनले भने ।
गलकोटले चालु शैक्षिक सत्र सुरुआत हुनुपूर्व चार विद्यालय गाभेको छभने केही विद्यालयमा तह मिलान गरेको छ । रासस |
लुम्बिनी प्रदेशको आर्थिक वृद्धिदर घट्ने प्रक्षेपण तुलसीपुर। लुम्बिनी प्रदेशको आर्थिक वृद्धिदर घट्ने प्रक्षेपण गरिएको छ। लुम्बिनीमा पहिलो पटक गरिएको चालु आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षणले यस्तो देखाएको हो।
सोही अनुसार यस वर्ष प्रदेशको आर्थिक वृद्धिदर दुई दशमलव छ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरिएको छ। लुम्बिनीमा अघिल्लो वर्षको आर्थिक वृद्धिदर पाँच दशमलव तीन प्रतिशत थियो।
आर्थिक गतिविधिमा अपेक्षाकृत विस्तार हुन नसक्दा आर्थिक वृद्धिदर घट्ने अनुमान गरिएको प्रदेशका आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले बताए। उनका अनुसार कूल गार्हस्थ्य उत्पादन चालु वर्षमा रू सात खर्ब ६३ अर्ब पुग्ने अनुमान छ। अघिल्लो वर्ष रू छ खर्ब ९८ अर्ब थियो।
चालु वर्षमा प्रदेशको कूल गार्हस्थ्य उत्पादनको अंश १४.२ प्रतिशत रहने अनुमान गरिएको छ। गत आर्थिक वर्षमा अंश १४.४२ प्रतिशत थियो। चालु वर्षमा कृषि क्षेत्रको ३.६ प्रतिशत र गैरकृषि क्षेत्रको वृद्धिदर १.५० प्रतिशत रहने प्रक्षेपण गरिएको छ। अघिल्लो वर्ष यो वृद्धिदर क्रमशः दुई दशमलव चार र पाँच दशमलव नौ प्रतिशत थियो।
चालु आर्थिक वर्षमा लुम्बिनीमा प्रतिव्यक्ति आय एक हजार एक सय २६ अमेरिकी डलर रहेको प्रक्षेपण गरिएको छ। लुम्बिनीको गरिबीको औसत दर १८.४ प्रतिशत रहेको छ। चालु आर्थिक वर्षको चैतसम्ममा लुम्बिनीमा रू तीन अर्ब ६४ करोड २५ लाख राजस्व प्राप्त भएको छ। यो लक्ष्यको ७४ प्रतिशत हो। – रासस |
वाईसीएल जाजरकोटका अध्यक्ष बस्नेतले एम्बुलेन्स फुटाए, नगरपालिकाले गुपचुपमै मिलायो सुर्खेत। १७ चैत २०७९ मा जाजरकोटमा नेकपा माओवादी केन्द्रनिकट युवा संगठन वाईसीएल जाजरकोटका अध्यक्ष यज्ञराज बस्नेतले भेरी नगरपालिकाको एम्बुलेन्स तोडफोड गरे । जाजरकोट भेरी नगरपालिका १ कालेगाउँ बस्ने वर्ष २७ का बस्नेतले भेरी नगरपालिकाको एम्बुलेन्स तोडफोड गरेका हुन्।
संघीय सरकारका ऊर्जा जलस्रोत मन्त्री शक्तिबहादुर बस्नेतका दाइका छोरा बस्नेतले नगरपालिकामा पार्किङ गरेर राखेको कर्णाली प्रदेश ०२००१ झ ०११७ नम्बरको एम्बुलेन्सको सिसा फुटालेको थिए । १७ चैतको साँझ करिब ८ बजे भेरी नगरपालिकाको स्वामित्वमा रहेको एम्बुलेन्स तोडफोड भेरी नगरपालिका प्रमुख प्रशासकिय अधिकृत कृष्ण जैसीले बताए ।
भेरी नगरकार्यपालिकाको बैठक संचालन भइरहेको समयमा बाहिर ठेक्कासम्बन्धी केही व्यक्तिहरुको विवाद गर्दै बस्नेतले एम्बुलेन्स तोडफोड गरेका थिए । बिरामी पुर्याएर फर्किएको पार्किङका लागि राखेको एम्बुलेन्सकाे सिसा फुटेको थियो ।
सार्वजनिक सम्पत्तिमा तोडफोड भएको भन्दै तत्काल बस्नेतलाई आवश्यक क्षतिपूर्ति तिर्न नगरपालिकाले कागज गराएको थियो । जानाजान सार्वजनिक सम्पत्तिमा हानी नोक्सानी पुर्याउने उद्देश्य आफ्नो नरहेको बस्नेतले स्वीकार गरेका थिए ।
भुलवस अन्जानमा सार्वजनिक सम्पत्तिमा क्षति भएको भन्दै बस्नेतले क्षमा मागेका थिए । आफ्नो कारणले एम्बुलेन्समा भएको क्षतिबापतको रकम तिर्न आफू तयार रहेको समेत बताएका थिए । घटना भएको तीन महिना बितिसक्दा पनि उनले क्षतिपुर्तिबापत पैसा तिरे नतिरेको कसैलाई पनि जानकारी छैन । यता, नगरपालिकाले भने उनले पैसा तिरिसकेको भने दाबी गरेको छ ।
पैसा तिरेको हाकिमलाई समेत थाहा छैन
भेरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जैसीले वाईसीएल जाजरकोटका अध्यक्ष बस्नेतले नगरपालिकाको एम्बुलेन्स तोडफोड गरेको आफूलाई जानकारी भएको र क्षतिपुर्तिबापत रकम तिरेको भने कुनै पनि जानकारी नभएको बताए । उनले रकम तिर्छु भनि कागज गरेको तर आफुलाई पैसा तिरेको कुनै पनि जानकारी नभएको उनले बताए ।
‘एम्बुलेन्स तोडफोड गरेको स्वीकार गर्दै पैसा तिर्छु भनी कागज समेत गर्नुभएको थियो’ उनले भने, ‘तर के गर्नुभयो त्यो मलाई केही जानकारी भएन्, एम्बुलेन्स मर्मत भइसक्यो सायद तिर्नुभयो होला ।’
यस्तै नगरपालिका राजश्व शाखा प्रमुख प्रकाश बटालाले पनि पैसा तिरे नतिरेको आफूलाई कुनै पनि जानकारी नभएको बताए । ‘तिर्छु भन्नुभएको थियो तर के गर्नुभयो मलाई केही जानकारी भएन,’ उनले भने ।
यस्तै, वाइसियलका अध्यक्ष बस्नेतलाई सम्पर्क गरी यस विषयमा बुझ्न खोज्दा उनले कुनै पनि जवाफ दिन चाहेनन् । ‘गएको कुरा किन गर्नुपर्याे, मैले जानी जानी तोडफोड गरेको हो र ? जे भइसक्यो भइसक्यो । तपाइँलाई के भयो भन्दै उल्टै उनले राम्रोसँग पत्रकारिता गर्न धम्की समेत दिए ।
रकम तिरिसक्नुभयो भरपाइ बनाएन गल्ती भयो : जिन्सी प्रमुख थापा
भेरी नगरपालिका जिन्सी शाखा प्रमुख कृर्तिबहादुर थापाले बस्नेतले क्षतिपुर्तीबापत ५ हजार ५०० रुपैयाँ तिरिसकेको बताए । उनले एम्बुलेन्सको सिसा फुटाएको एक हप्तापछि कार्यालयमा आएर पैसा बुझाएको जानकारी दिए।
‘हामीले गाडी कला मोटर पाटर्स नेपालगञ्जमा बनाएका थियौँ, गाडी बनाएबापतको रकम ५ हजार ५०० मैले मेराे खाताबाट हालेको थिएँ,’ उनले भने, ‘त्यसपछि उहाँ कार्यालयमै आएर मलाई ५ हजार ५०० रुपैयाँ दिनुभयो । तर, मैले बिल भरपाई केही पनि बनाएन गल्ती भयो।’
उनले भनेको कुरालाई आधार मान्दा बस्नेतले तिरेको पैसा थापाले व्यक्तिगत खर्च चलाएको बुझिएको छ । सरकारी राजश्व सरकारको खातामा दाखिला गर्नुपर्ने कानुनी प्रावधान छ । तर, भेरी नगरपालिका कर्मचारी व्यक्तिगत खातामा पैसा असुली गर्दै आएका छन् । नगरपालिका राजश्व प्रमुख र स्टोर प्रमुख थापाले व्यक्तिगत खातामा पैसा लिएर व्यक्तिगत खर्च चलाउने गरेको स्रोतले जनाएको छ। न्युज कारखाना
|
ताप्लेजुङमा बाढीले पुल बगायो, वर्षाले जनजीवन प्रभावित ताप्लेजुङ। अत्यधिक वर्षाका कारण ताप्लेजुङको पूर्वी क्षेत्रको जनजीवन प्रभावित भएको छ। दुई दिनदेखिको अविरल वर्षाका कारण सिरीजङ्घा र सिदिङ्वा गाउँपालिकाका विभिन्न क्षेत्रमा बाढी, पहिरोले क्षति पुगेको छ। निरन्तरको वर्षाले थप जोखिम बढेकाले यहाँका नागरिक त्रसित बनेका छन्।
गए राति आएको बाढीले सिरीजङ्घाको खेवाङ र सिदिङ्वाको मेहेले जोड्ने तावाखोलामाथिको मोटरेवल पुल बगाएको छ। एक महिनाअघिदेखि सञ्चालनमा आएको उक्त पुलको आधा भाग बाढीले बगाएको स्थानीयले बताए ।
सिरीजङ्घा गाउँपालिका-८ याम्फुदिनमा दुई वटा जलविद्युत् आयोजनामा बाढीले क्षति पुगेको छ। स्थानीय पेम्बा शेर्पाका अनुसार आठ किलोवाट क्षमताको जलविद्युत्को पावर हाउस बाढीले बगाएको छ भने अर्को १५ किलोवाटको पाइप बगाएको छ।
यस्तै स्थानीय जगतबहादुर राईको एक घर बाढीकै कारण जोखिममा परेको छ। यता सिदिङ्वा गाउँपालिकाको सुरुम्खिमका विद्यालय बिहीबारदेखि नै वर्षाका कारण बन्द गरिएका छन्।
अत्यधिक वर्षाले बाडी पहिरोको जोखिम रहेकाले विद्यालय बन्द गरिएको हो। निरन्तर वर्षा भइरहेकाले जनजीवन त्रसित बनेको खेवाङका शिक्षक विनम माबोले बताए।
बाढी पहिरोले २९ घरपरिवार उच्च जोखिममा
गएको बिहीबारदेखि निरन्तर वर्षासँगै बाढी पहिरोले ताप्लेजुङको पूर्व क्षेत्रमा पर्ने सिरीजङ्गा गाउँपालिका र सिदिङवा गाउँपालिका विभिन्न गाउँमा उच्च जोखिममा परेका छन्। बिहीबारदेखि निरन्तर वर्षासँगै पाढी पहिरोका कारणले २९ घरपरिवार उच्च जोखिममा परेको हो।
सिदिङ्वा गाउँपालिका-७ सुरुङखिम क्षेत्रमा बुधबार साँझदेखि निरन्तर वर्ष भइरहेको सिदिङवा गाउँपालिका-७ का लुक्षुमण तामाङले बताए। उनका अनुसार खोेला खोल्सा तर्न नसकिने अवस्था भएको छ। एक घरदेखि अर्को घर जानसमेत सम्भव नभएको वडाध्यक्ष तामाङले बताए।
उनले भने, “पानी मुसलधारे परिरहेको छ। एक घरदेखि अर्को घर जान सकिँदैन। अहिले सुरुङखिम गाउँमा १५ घर परिवार उच्च जोखिम परेको छौँ।”
बाटो सबै अवरुद्ध भएसँगै गाउँदेखि सदरमुकाम फुङ्लिङ, झापा, धरानलगायत विभिन्न क्षेत्रमा छुट्ने गाडी गाउँमै रोकिएको सिदिङवा गाउँपालिकाका उपाध्यक्ष कृष्णकुमारी कडरियाले बताए।
उनका अनुसार गत सातामात्र उद्घाटन गरेको तावा खोलामा निर्माण गरेको मोटरेवल पुलको एक साइटको पिलर बगाएसँगै यातायातका साधन आवतजावतमा ठप्प भएको उपाध्यक्ष कडरियाले बताए। धेरै क्षेत्रमा अलैँची बगानसमेत क्षति पुगेको छ।
त्यस्तै सिरिजङ्गा गाउँपालिका-७ याम्फुदीनमा गए रात पहिरोले विद्युत्गृहनै बगाएसँगै गाउँन अन्धकार भएको स्थानीय राजकुमार लिम्बूले बताए।
स्थानीयका अनुसार काबेली खोलामा गए राति आएको बाढीले घर जगतबहादुर राई र तारामान गुरुङ गुरुङको घर पूर्णरुपमा क्षति गरहेको छ। पशु चौपायको क्षति भने यकिन नभएको स्थानीय विदुर गुरुङले बताए।
याम्फुदीन प्रहरीचौकीका अनुसार निरन्तर वर्षाका करण १४ घर परिवार उच्च जोखिममा रहेका छन्। प्रहरीका अनुसार कालेली खोला अहिले गाउँमा छिरेको छ। खोला गाउँमा छिरेपछि गाउँनै जोखिममा परेको याम्फुदीन प्रहरीचौकी इञ्चार्ज प्रहरी हवलदार विनोद उरावले बताए।
उनले भने, “अहिले हामी नै जोखिममा छौँ। प्रहरीचौकी, वडा कार्यालय, विद्यालय, स्वास्थ्यचौकीसमेत उच्च जोखिममा परेको छ। स्थानीय आफ्नो घर छोडेर सुरक्षित स्थानमा जाने क्रममा छन्।”
बुधबार बेलुकादेखिको वर्षाले बाटो अवरुद्ध हुँदा सिदिङवा गाउँपालिका-१ सुरुमखिमका विद्यालय बिहीबारदेखि बन्द गरिएको छ। बालबालिका विद्यालयसम्म आउने बाटो भत्किएपछि विद्यालयले प्रशासनले सूचना निकालेर विद्यालय बन्द गरेको हो।
“विद्यार्थी आउने बाटो अवरुद्ध भएका छन्, खोला तर्ने तरिका छैनन्”, प्रधानाध्यापक यज्ञमणि पौडेलले भने, “सिदिङवा-१ का वडासदस्य राजकुमार इम्वुङका अनुसार बिहीबार अहिलेसम्म एक क्षेत्रमा एकदेखि अर्को ठाउँमा जान कठिन छ।”
सिदिङवा गाउँपालिका अध्यक्ष मानबहादुर राई सडक अवरुद्ध र खोला बढेपछि झापाको विर्तामोड र ताप्लेजुङ सदरमुकाम फुङलिङ जाने दुईवटा यात्रुवाहक जिप रोकिएको बताउँछन्।
अब वर्षा रोकिएर खोला नघटेसम्म ती गाडी गाउँकबाट निकाल्ने उपाय नभएको राईले बताए। सिदिङवा र सिरिजङ्गामा गत वर्षको बाढी पहिरोले मानवीय तथा भौतिक क्षति गराएको थियो। रासस |
डोलेश्वर–रत्नपार्क सीधा यातायात सेवा सुरु भक्तपुर। भक्तपुरको धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा परिचित सूर्यविनायक–८ डोलेश्वर मन्दिरबाट काठमाडौँको रत्नपार्कसम्म आजदेखि सार्वजनिक बस सेवा सुरु भएको छ।
केदारनाथको शिरोभाग डोलेश्वर मन्दिरस्थित बसपार्कबाट बिहान ५ बजेदेखि काठमाडौँको रत्नपार्कसम्म सीधा सार्वजनिक बस सेवा सुरु भएको सूर्यविनायक नगरपालिका–८ का वडाध्यक्ष पुष्पराज बस्नेतले जानकारी दिए।
डोलेश्वरबाट जगाती, सूर्यजिनायक, कोटेश्वर, बानेश्वर, माइतीघर, सहिदगेट हुँदै रत्नपार्क रुटमा आजदेखि प्रत्येक आधा घण्टाको फरकमा डोलेश्वरबाट रत्नपार्कका लागि र रत्नपार्कबाट डोलेश्वरका लागि बस छुट्ने छ।
सार्वजनिक बस सेवा सञ्चालनका लागि सूर्यविनायक नगरपालिका–८ कार्यालय, डोलेश्वर मन्दिर संरक्षण तथा विकास समिति र ख्वप भक्तपुर मिनिबस सेवा समितिबीच त्रिपक्षीय सम्झौता भएको हो। ख्वप भक्तपुर मिनिबस सेवा समितिले दैनिक आठ बस उक्त रुटमा सञ्चालन गर्ने छ।
बागमती प्रदेशसभा सदस्य एवं स्थानीयवासी किरण थापाले ग्रामीण धार्मिक पर्यटकीय क्षेत्रका रुपमा रहेको यस क्षेत्रमा आजदेखि सुरु भएको सार्वजनिक यातायातको सेवाबाट डोलेश्वर मन्दिर दर्शन गर्न आउने धर्मालम्बी लगायतलाई आवत जावतमा सहज हुने बताए। सीधा बस सेवा नियमितरुपमा सञ्चालन नहुँदा असुविधा भएको थियो। – रासस |
पानी नपरेपछि ब्याडमै सुक्न थाल्यो धानको बीउ पाल्पा। खेतमा यतिबेला सबैजसो किसानका ब्याडमा हरियाली धानको बीउ हुन्थे। असारको दोस्रो हप्ता पछाडि धान रोप्ने किसानले तयारी गर्थे तर यस पटक भने वर्षा नपरेपछि बीउ राख्न समस्या भएको किसानले बताएका छन्।
असार सुरु हुँदासमेत पानी नपर्दा बीउ राख्न समस्या भएको छ भने कतिपय ठाउँमा राखिएका बीउ ब्याडमै उम्रन पाएका छैनन्। हरेक वर्ष हिले ब्याड राख्ने गरेकोमा यस पटक पानी अभावमा धुले ब्याड राख्न बाध्य भएको पाल्पाको रामपुरका किसान डोलराज तिवारी बताउँछन्।
“समयमा पानी पर्न सकेन, धुले ब्याड बनाएर बीउ राखियो, सिँचाइ दिन सकिएको छैन, दिनभर चर्को घामबाट जोगाउन स्याउला तथा बोराले माथिबाट ढाकेर राखिएको छ”, उनले भने। तिवारीका अनुसार कुलोको पानी पालो अनुसार सिँचाई दिन रातदिन धाउनुपरेको छ। प्रयाप्त सिँचाइ दिन नपाउँदा ब्याडमा उम्रदै गरेको बीउ सुक्ने अवस्थामा छन्।
रातभर खेतमा पानीको पालो कुलेर बस्दासमेत दुई दिनमा एक पटक सिँचाइ दिन सकस भएको बताउँछिन्, शोभा आले।
“पानीको पालोअनुसार ब्याड सिँचाइ गर्न दिनरात नभनिकन खेतमा धाउनुपरेको छ”, उनले भनिन्, “दुई दिन बित्दासमेत पालो आउन मुस्किल पर्छ, खेतमा बीउ सुक्न लागिसक्यो, आकाशे पानी नपरेपछि किसानले धेरै सास्ती खेप्नु परेको छ।”
घरधन्दा, छोराछोरीको रेखदेखका बाबजुद रातभर खेतमा पानी पालो पर्खेर बस्न पर्दा महिलालाई धेरै अप्ठ्यारो हुने गरेको मन्जु पंगेनीले बताइन्। रातको समयमा डर त्रासका बाबजुद कुलोको मुहानमा पुगेर पानी ल्याएर सिँचाइ गर्न महिलालाई सकस परेको आलेको भनाइ छ।
हिले ब्याड बनाएर बीउ राख्ने यहाँका किसानले अहिले पानी अभावमा धेरैले धुले ब्याड राखेका छन्। असार लागिसक्दा पनि कतिपय ठाउँमा बीउ अझै राख्न पाइएको छैन। यस वर्ष मनसुन ढिला सुरु हुँदा धानको बीउ राख्न किसानले धेरै समस्या भोग्नुपरेको रामपुर नगरपालिका कृषि शाखा प्रमुख रामहरि पाण्डेयले बताए।
उनी भन्छन्, “पानी नपरेपछि कुलो, नहरमा पानीको बहाव घटेको छ, पानीका मुहान, कुँवा सुक्दै गएका छन्, पर्याप्त सिँचाइ भएका मूल, कुँवाको मुहान नजिक भएका खेतमा हिलो गरेर बीउ राखिएको छ भने सिँचाइ कम सुविधा भएका ठाउँमा धुले ब्याड तयार भएका छन् ।”
पाण्डेयका अनुसार यस क्षेत्रका आकाशे पानीको भरमा मात्र खेती लगाइने जग्गामा बीउ राख्न अझै बाँकी नै छ । कुलो, नहरमा ल्याइएका पानी खेतको मुहानमा पुग्न धौँ धौँ अवस्था छ। बिहानैदेखि रात नपरुञ्जेलसम्म चर्को घाम लागेकाले कुलो तथा नहरमा ल्याइएको पानी खेतसम्म पुर्याउन कठिनाइ छ।
ब्याडमा बीउ सुक्ने अवस्था हुन थालेपछि किसानले बोरा, स्याउलाले दिनभर छोपेर राख्ने गरेका छन्। महँगो मूल्यमा बजारका एग्रोभेटमा बीउ खरिद गरेर ब्याड राखेका किसान सिँचाइ पर्याप्त दिन नपाउँदा उम्रन नपाइकन बीउ बिग्रने चिन्तामा छन्। वर्षदिन खाने खेती समयमा नै बीउ राख्न नपाउँदा र ब्याडमा पर्याप्त सिँचाइ दिन नसक्दा किसान पिरोलिएका छन्।
खेती लगाउने समयमा हरेक वर्ष किसानलाई केही न केही समस्या निम्तिएको हुन्छ। कहिले रासायनिक मलको अभाव त कहिले धानको बीउ अभाव, समयमा वर्षा नपर्नुजस्ता समस्याले किसानलाई सताइरहेको हुन्छ। दिगो र भरपर्दो सिँचाइको व्यवस्थापन हुन नसक्दा बीउ राख्न तथा बालीनाली लगाउन समस्या भइरहेको छ। |
मेलम्ची बाढी : प्रभावित अझै अस्थायी टहरामै सिन्धुपाल्चोक। विसं २०७८ असार १ गते सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा बाढी आएको दुई आज वर्ष पूरा भएको छ। असार १ र त्यसपछिका पटक पटकका बाढीका कारण ठूलो जनधनको क्षति भएको थियो । नदी तटीय क्षेत्रका सयौँ घर र खेतियोग्य जमिन बगर बने भने हजारौँ नागरिक विस्थापित भए।
बाढीले क्षति पुर्याएको दुई वर्ष बिते पनि प्रभावित अस्थायी टहरामै बसिरहेका छन्। उनीहरु सुरक्षित बसोबासको पर्खाइमा छन्। मेलम्ची बाढीले घरखेत बगाएर बेसहारा बन्नुभएकी हेलम्बु–२ च्युरीखर्ककी जुकमाया थापामगरका आँखा अझै ओभाएका छैनन्। बाढीले उहाँको घरसहित भएको थोरै जमिनसमेत बगर बनेपछि सुकुम्बासी बनेकी छन्। सरकारले घर बनाइदिने भनेको दुई वर्ष बितिसक्दासमेत अस्थायी टहरामै बस्न बाध्य उनलाई दैनिक गुजारा चलाउनसमेत धौधौ परेको छ।
हेलम्बुकै डेलिङ थापा वृद्ध दम्पती दुई वर्षदेखि अस्थायी टहराको सकसपूर्ण जीवनले बाच्नै गाह्रो भएको बताउँछिन्। बाढीका कारण विस्थापित हेलम्बु, मेलम्चीका स्थानीयवासी सुरक्षित ठाउँमा घर कहिले बनाउन पाइएला भन्ने आशामा छन्।
नदी तटीय क्षेत्रका बासिन्दाको कथा पनि उस्तै छ। नदि नियन्त्रणको काम गुणस्तरीय नभएको मेलम्ची सिमखेतकी शान्ता चालिसेले गुनासो गरिन्। उनले बाढी आउँदा बालबच्चा बोकेर माथितिर भाग्नुपरेको दुखेसो सुनाइन्।
बाढीका कारण हेलम्बु गाउँपालिकामा मात्रै तीन सय ९२ जना लाभग्राही कायम भएकामा हालसम्म दुई सय ७५ जनाले मात्र पहिलो किस्ता पाएका छन्। मेलम्ची नगरपालिकामा कायम भएका दुई सय ७१ लाभग्राहीमध्ये दुई सय ४५ जनाले पहिलो, २८ जनाले दोस्रो र एक जनाले मात्र अन्तिम किस्ता पाएका छन्।
यस्तै पाँचपोखरी थाङपाल गाउँपालिकामा समेत एक सय ७९ जना लाभग्राहीमध्ये जम्मा २६ जनाले मात्र पहिलो किस्ता लिएका छन् । जिल्लामा बाढी पहिरोलगायतका प्राकृतिक प्रकोपबाट प्रभावित बनेका एक हजार पाँच सय ७९ लाभग्राहीमध्ये हालसम्म सात सय ७६ जनाले पहिलो, ६८ जनाले दोस्रो र मात्र सात जनाले अन्तिम किस्ताबापत्को रकम पाएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
बाढीका कारण विस्थापित भएका स्थानीयको स्थायी आवास पुनःनिर्माण प्रक्रियामा स्थानीय तह र जिल्ला प्रशासन कार्यालयबीच आपसी तालमेल नहुँदा निर्माण कार्य सुस्त बनेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्यालजेन शेर्पा बताउँछन्। उनले गाउँपालिकाले हाल्नुपर्ने १० प्रतिशत रकम खातामा जम्मा गरिसकेको बताए। घर बनाउन दिने रु पाँच लाख कम भएका कारण स्थानीयले घर बनाउन आँट गर्न नसकेको शेर्पाले बताए। रु पाँच लाख घर बनाउन अपुग भएको छ।
प्राकृतिक विपद्का हिसाबले देशकै उच्च जोखिममा रहेको यस जिल्लामा वर्षायाममा आउने बाढी, पहिरो तथा अन्य विपद्मा पूर्वसूचना प्रणाली, विपद् प्रतिकार्य योजना एवं सामग्रीको उचित व्यवस्थापनको कमजोरीले पनि बर्सेनि जनधनको क्षति हुने गरेको छ।
यस्ता प्राकृतिक विपद्को पूर्वसूचनाले ठूलो क्षति हुनबाट रोक्न सकिने अनुभव मेलम्ची बाढीले सिकाएकाले सोको पूर्वतयारी अवस्थामा राखिएको मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालको भनाइ छ। उनले पूर्वसूचना प्रणाली जडान, वडास्तरीय विपद् समितिलाई तालिम दिइएको तथा उद्धार अभ्यास पनि गरिएको, वर्षा मापन केन्द्र स्थापना गरिएकोे बताए।
विसं २०७८ असार १ गतेको बाढीले हेलम्बु गाउँपालिका, मेलम्ची नगरपालिका र पाँचपोखरी थाङपाल गाउँपालिकाको मात्रै पाँच सय ५१ घर बगाएको थियो। पाँच हजार चार सय रोपनी खेतीयोग्य जमिन बगर बन्यो भने २६ जनाको ज्यान गएको थियो।
राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनासँगै सात झोलुङ्गे पुल, नौ पक्की पुललगायत ३३ संरचना ध्वस्त भएका थिए । हेलम्बुको चनौटेमा बेलीबृज जडान भइसकेको छ भने मेलम्ची नदीमा जडान गर्न थालिएको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले जानकारी दिए। |
आजबाट नयाँ बसपार्कबाट मात्रै सवारी साधान छुट्ने, नियम नमाने कारबाही काठमाडौं। काठमाडौं महानगरपालिकावाट बाहिर जाने सवारी साधान नयाँ बसपार्कवाट मात्रै छुट्ने भएका छन्।
काठमाडौं महानगर क्षेत्रभित्रबाट उपत्यका बाहिर लामो, मध्यम तथा छोटो दूरीमा सञ्चालन हुने यात्रुबाहक सवारी साधान नयाँ बसपार्क गोंङगबुबाट मात्रै छुट्नु पर्ने ब्यवस्था कार्यान्वयन गर्ने निर्णय भएकाे भन्दै महानगरपालिकाले निर्देशन दिएअनुसार आजबाट लागू हुन लागेको हो।
‘निर्णय कार्यान्बयन गर्दै अवस्थामा सुधार ल्याउन २०८० असार १ गतेदेखि नयाँ बसपार्कभन्दा बाहिर रहेका सबै टिकट काउन्टर हटाउन, नयाँ बसपार्कबाट मात्र यात्रुबहाक सवारी साधान सञ्चालन गर्न सुचित गरिन्छ, महानगरले भनेको छ, ‘धुलिखेल, बनेपा, साँखुसम्मको सडक इजाजत पत्र लिएका लामो दुरीका सवारी साधानको हकमा कलंकीदेखि जडिबुटीसम्म सवारी साधान रोक्न निषेष गरिएको छ।’
महानगरद्वारा जारी सूचना अनुसार सो निर्देशन अनुसार बसपार्कबाट मात्रै सवारी नछुटाएमा कारबाहीसमेत गर्ने जनाएको छ।
‘सूचनाको बर्खिलाप गर्ने जो कोहीलाई असार १ गते देखि ट्राफिक प्रहरीसँग समन्वय गरी महानगर प्रहरीबाट नियमानुसार कानुनी कारबाही हुने ब्योहोरा जानकारीका लागि अनुरोध छ।’
|
सट्टेबाज खेलाउने र प्रमोसन गर्नेविरुद्ध कारबाही तीव्र काठमाडौँ । नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले वान–एक्स बेटलगायत बेटिङ प्लेटफर्ममार्फत सट्टेबाजका एजेन्ट, खेलमा संलग्न व्यक्ति र त्यसको प्रचारात्मक कार्यक्रममा सहभागिमाथिको अनुसन्धान तीव्र बनाएको छ ।
बुधबारमात्रै पाँच जना एजेन्ट पक्राउ गरेको प्रहरीले त्यसमा संलग्न अन्य व्यक्तिको खोजी तीव्र पारेको छ । नेपालमा गैरकानुनी रहेको यस अनलाइन खेलको प्रचार–प्रसारमा संलग्न मानिससमेत देखिएकाले उनीहरूको पनि खोजी जारी रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डा मनोज केसीले बताए । सोही क्रममा हिजो र आज कलाकारसहित थप आठ जनालाई पक्राउ गरेको उनले बताए । पक्राउ पर्नेमा मरिचमान श्रेष्ठ र राजु पौडेल, पवन खतिवडा, एलिश राई, ज्वलन घर्तीमगर, गणेश देवकोटा र सरोज घिमिरे छन् ।
“आज पनि अपरेशन टोली फिल्डमा गएको छ, केही व्यक्तिहरू पक्राउ परेका छन्, यो क्रम अझै जारी रहन्छ”, उनले भने । डा केसीले यसरी प्रचार गर्ने, खेलमा संलग्न हुने र खेलाउने सबै कानुनी दायरामा ल्याएरै छाड्ने प्रतिबद्धता जनाएका छन् । सोही सिलसिलामा अहिले तथ्य अध्ययन पनि भइरहेको उनले बताए । कार्यालयले विगत तीन महिनादेखि सट्टेबाजविरुद्ध अपरेशन चलाउँदै आएको छ ।
सोही क्रममा प्रहरीले विश्वमा सञ्चालन हुने विभिन्न खेल तथा अनलाइन गतिविधिमा सट्टेबाज (जुवा) खेल्न प्रयोग हुने वान–एक्स बेटमार्फत एकै व्यक्तिले ६४ करोडसम्म अवैध कारोबार गरेको फेला पारेको थियो । कैलाली घर भई चाबहिल बस्ने दिनेश खड्काले विलाश थारू, तेजबहादुर खड्का, नवीन चौधरी, अनिता धिताललगायतका कागजात प्रयोग गरेर १२ जनाको नाममा खाता खोलेर सट्टेबाजको मुख्य एजेन्टको रूपमा सक्रिय भएको पाइएको छ । यसरी सट्टेबाजको रकम प्रयोग गर्न उनले ६३ वटा खाता खोलेको भेटिएको छ ।
उनीसँगै अनिता धिताल, दीपेश श्रेष्ठ, दिनेश चन्द र आशिष लामिछाने छन् । उनीहरूले सट्टेबाजमा रु ७४ करोड १३ लाख कारोबार गरेको पाइएको छ । उनीहरूलाई कार्यालयले थप अनुसन्धान तथा काराबाहीका लागि प्रहरी परिसरमा बुझाइसकेको छ । |
भ्रूणको लिङ्ग पहिचान नगर्न अस्पताललाई मन्त्रालयको निर्देशन काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भ्रूणको लिङ्ग पहिचानसम्बन्धी कुनै पनि कार्य नगर्न स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ ।
मन्त्रालयका उपसचिव एकदेव खनालले सरकारी, निजी तथा सामुदायिक स्वास्थ्य संस्थालाई पत्राचार गर्दै भ्रूणको लिङ्ग पहिचानसम्बन्धी कुनै पनि कार्य नगर्न/नगराउन निर्देशन दिएका छन् ।
मन्त्रालयले कसैले गर्भमा रहेको भ्रूणको लिङ्ग पहिचान गरी कुनै कार्य गर्न र नगराउन नहुने, यदि सो कार्य गरे वा गराएमा तीन महिनादेखि एक वर्षसम्म कैद सजाय हुने परिपत्रमा उल्लेख गर्दै उक्त कुरा स्वास्थ्य संस्था एवं प्रयोशागाला परिसरमा टाँस्न पनि भनिएको छ ।
मन्त्रालयले राष्ट्रिय जनगणना, २०७८ को नतिजामा लैङ्गिक अनुपातमा असमानता देखापरेको र विभेदपूर्ण लिङ्ग छनोटको अन्त्यका लागि राष्ट्रिय रणनीतिमा विभेदपूर्ण लिङ्ग छनोट अन्त्य गर्न कार्यनीति लिङ्ग पहिचान गर्न नपाइने उल्लेख गरिएको छ ।
मुलुकी संहिता, २०७५ को दफा १८८ को उपदफा ७ र ८ मा एवं सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ को दफा १७ मा गर्भको लिङ्ग पहिचान गर्ने कार्यलाई कानूनतः दण्डनीय अपराध मानेको हुँदा स्वास्थ्य संस्थालाई भ्रूणको लिङ्ग पहिचान नगर्न भनिएको छ । |
विद्युत् व्यापारका लागि तयार हुनुस् : ऊर्जामन्त्री बस्नेत काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले निजी क्षेत्रलाई छिट्टै बिजुली व्यापारका लागि अनुमति दिने सङ्केत गरेका छन् ।
उनले त्यसका लागि तयारी अवस्थामा रहन आग्रहसमेत गरेका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान)को २१औँ वार्षिक साधारणसभाको उद्घाटन कार्यक्रममा उनले बिजुली व्यापारमा क्रमशः निजी क्षेत्रलाई अनुमति दिइने बताए ।
मन्त्री बस्नेतले अब विद्युत् व्यापारका लागि पनि निजी क्षेत्र तयारी अवस्थामा बस्न आग्रह गरेका हुन् । प्रधानमन्त्रीको भारत भ्रमण एउटा ‘ब्रेक थ्रु’ भएको भन्दै उनले हाल परिस्थिति धेरै परिवर्तन भइसकेको स्पष्ट पारे ।
भारतलाई बिजुली बिक्रीका लागि भएको सहमतिलाई कार्यान्वयन गरिने उहाँको भनाइ छ । ऊर्जामन्त्री बस्नेतले त्यो सम्भव रहेको बताए । “सम्भव नभई त निर्णय हुन पनि सम्भव थिएन । निर्णय हुनु नै यो सम्भव हुनु हो । कार्यान्वयनमा जान्छ । ढुक्क हुनुस्”, उनले भने ।
हाल बुझाइ र परिस्थितिमा अन्तर रहेको भए पनि आगामी १० वर्षभित्र १० हजारमात्रै होइन १५ देखि २० हजार मेगावाट बराबरको बिजुली बिक्रीका लागि परिस्थिति बन्ने उनले जिकिर गरे ।
उत्पादन बढी भएपछि भारत, बङ्गलादेशलगायतका मुलुकसँग व्यापारको कुरा भए पनि पूर्वाधार निर्माणमा ठूलो लगानीको आवश्यकता रहेको मन्त्री बस्नेतको भनाइ छ । उनले लगानीको वातावरण बनाउन नीतिगत व्यवस्था सुधार गर्ने, सेवाप्रवाह चुस्त बनाउनेलगायतका कुरा ध्यानमा राखेर अघि बढ्नुपर्नेमा जोड दिए ।
“उत्पादन गरेरमात्र पुग्दैन । पहिला लगानीको वातावरण बनाएर उत्पादन बढाउने र पूर्वाधार बनाएर त्यसलाई व्यापारसँग जोड्ने नीति सरकारले लिएको छ”, उनले भने ।
सरकारले स्पष्ट लक्ष्य निर्धारण गरेको जानकारी दिँदै उनले सो लक्ष्य पूरा गर्न एवं अप्ठ्यारा हटाएर अगाडि बढिने र समस्या समाधान गरिने बताए । उनले भने, “मुलुकको समृद्धिको निम्ति आधार भनेकै ऊर्जा हो, त्यसमा हामी स्पष्ट छौँ ।”
उत्पादनको दृष्टिबाट हेर्दा पूर्वाधार अभावजस्तो देखिए पनि निर्माणाधीन प्रसारणलाइन र सबस्टेशन बनिसक्दा फेरि उत्पादनमै फर्किनुपर्ने अवस्था आउने पनि मन्त्री बस्नेतको भनाइ छ ।
बिजुलीको खपत बढाउनका लागि शतप्रतिशत विद्युतीकरण, औद्योगिक खपत बढाउने, घरायसी प्रयोजनमा ग्यास विस्थापित गर्ने, सिँचाइ, यातायातलगायतका सबै क्षेत्रमा ऊर्जा खपत बढाउने अभियान पनि सुरु गर्न लागेको मन्त्री बस्नेतले जानकारी दिए ।
बजेट निर्माणलगायतका काममा व्यस्त हुँदा विद्युत् विधेयक पहिला संसद्मा लैजान नसकिएको जानकारी दिँदै उनले केही समयलगत्तै सो विधेयकले संसद्को कार्यक्षेत्रमा प्रवेश पाउने उनको भनाइ छ । उनले भने, “अब निजी क्षेत्रले व्यापार गर्ने बेला आएको छ । तपाईंहरू तयार हुनुस् । सरकार हातेमालो गरेरै अघि बढ्छ ।”
कार्यक्रममा विद्युत् नियमन आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहले जलविद्युत् आयोजनालाई हकप्रद सेयर जारी गर्न अनुमति दिएपछि पाँच मेगावाटको आयोजनाले पनि ५० मेगावाटको अर्को आयोजना बनाउन सुरु गरेको बताए । उनले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणमा ठूलो उपलब्धि भएको उल्लेख गरे । “हिजो ५० मेगावाट बिजुली किनिदिनुस् भन्ने अवस्था थियो । दुई सय मेगावाट किन्दा पनि दङ्ग पथ्र्यौँ । अहिले त एकैपटक १० हजार मेगावाटको सम्झौता भयो । यो निकै ठूलो उपलब्धि हो ।”
बङ्गलादेशसँग विद्युत् व्यापारका लागि नेपाल र बङ्गलादेश दुवैले भारतसँग बाटो माग्ने र डेडिकेटेड प्रसारण लाइन आफैँ बनाउनुपर्नेमा उहाँको जोड छ । निजी क्षेत्रले यस क्षेत्रमा महत्त्वपूर्ण काम गरेको उनको भनाइ छ ।
निजी क्षेत्रले विद्युत् व्यापार गर्ने कुरा आउँदा प्रसारण लाइनको कुरा आउँछ । तर ग्रीड कोडसम्बन्धी निर्देशिका बनाएको चार महिनासम्म पनि सुझाव नआएको उनको भनाइ छ । |
मधेस प्रदेशको बजेट भोलि सार्वजनिक हुने काठमाडौं । मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको मधेस प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०-८१ को बजेट भोलि सार्वजनिक गर्ने भएको छ ।
आज बसेको प्रदेश सभा बैठकमा अर्थ मन्त्रालयले अगामी आर्थिक २०८०/८१ को बजेट वक्तव्यका लागि प्रदेशसभामा पत्र पठाएकोमा सभामुख रामचन्द्र मण्डलले सो पत्र पढेर प्रदेशसभामा जानकारी गराएका हुन् । |
उच्च तापक्रमका कारण करोडौँको ड्रायगन कुहियो पथरी । केही दिनदेखि लागेको चर्को घामका कारण करोडौँको ड्रायगन फ्रुट नस्ट भएको छ । तापक्रम बढेसँगै फूल फूल्दै गरेका र फल लागेका ड्रायगन फ्रुट बोटमै कुहिएका छन् ।
तीन पटक (लट)सम्मको फल कुहिन थालेपछि व्यावसायिक ड्रायगन किसान मार्कामा परेका छन् । चर्को घाम, पानी र हावाहुन्डरीबाट जोगाउनुपर्ने खेती भएकाले जेठ १५ देखि बढ्दै गएको तापक्रमका कारण व्यावसायिक किसान निराश बनेका हुन् ।
यस वर्षको चर्को घाम र हुन्डरीले पथरी शनिश्चरे–६ का पुर्व वडाध्यक्ष जयबहादुर तामाङले सञ्चालन गरेको पुर्वाञ्चल मल्टिपल एग्रिकल्चरमा करिव पाँच देखि सात लाखसम्मको ड्रायगन क्षति गरेको छ । “पहिलो पटक सुरु गरेको खेतिमा हावाहुन्डरी र तापक्रमले समस्या देखियो”, तामाङले भने । ड्रायगनको बोट पहेँलिनु, फल कुहिँनुले पहिलो पटक मै नराम्रो झट्का लागेको उनले बताए । “अब उत्पादन लिन तीन हप्ता कुर्नुपर्ने हुन्छ । पहिलो, दोस्रो र तेस्रो पटक फलबाट आम्दानी लिन नपाए पनि मौसमले साथ दिए तीन हप्तापछि उत्पादन हुन्छ”, पूर्व वडाध्यक्ष तामाङले भने ।
पथरी शनिश्चरे–८ का खगेन्द्रप्रसाद लिम्बूको मेद्यावी कृषि फर्ममा पनि ड्रायगनका बोटमा क्षति भएको छ । अढाइ बिघामा लगाएको फर्ममा भूई भरि कोपिला र दाना कुहिएर झरेका छन् । लिम्बूले यस पटकको घाम र हावाले रू १५ लाख बराबरको ड्रायगन कुहिएको जानकारी दिए । फर्ममा टिप्न तयार भएका फलसमेत चर्को मैसमका कारण चाउरिएर साना दाना लागेका उनले बताए ।
एक पटक उत्पादन भएको फलबाट मनग्ये आम्दानी हुने भएकाले हरेस भने नखाएको लिम्बूको भनाइ थियो । “एक पटकको लगानीले २५ वर्षसम्म उत्पादन दिने गरेको छ । सुरुमा केही समस्या भए पनि पछि सामान्य हेरचाहा गरे राम्रो उत्पादन हुन्छ”, उनले भने ।
सुनवर्शी नगरपालिका–१ मा सञ्चालित तुर्छा ड्रायगन फ्रुट फर्ममा रू १५ देखि २० लाख बराबरको फुल्दै गरेको ड्रायगनका फल बोटमै ओइलिएर खसेका फर्मका सञ्चालक गणेश राईले बताए । लागतार एक हप्तासम्म लागेको चर्को घाम र बढ्दो गर्मीका कारण तीन लटसम्मका फल कुहिएको उनले बताए ।
मोरङ गछियामा व्यावसायिक ड्रायगन खेती गर्दै आएका टिएन तामाङको फर्ममा रू चारदेखि पाँच लाख बराबरको ड्रायगन कुहिएको छ । सुरु सुरु भएकाले अनुभव नभएको भन्दै एक्कासि लागेको घाम र हुरीले फल कुहिन थालेपछि आफूले केही गर्न नसकेको उनको भनाइ थियो ।
पूर्वी नेपालमा पहिलो पटक ड्रायगन खेती भित्र्याएका सुनसरीका कृपासुर घलेले यस सिजनमा सबै व्यवसायीलाई लाखौँको घाटा भएको बताए । आफूले सञ्चालन गरेको तर्जुमा ड्रायगन फ्रुट फर्ममा मात्रै रू पाँच÷सात लाखको फल कुहिएर झरेको उनको भनाइ थियो ।
“ड्रायगनले एक सिजनमा १५ देखि १९ पटक फल दिने गर्दछ । यो फल जेठबाट सुरु भएर कात्तिकसम्म फल्ने गर्छ । ड्रायगनमा फूल फूल्ने, फल लाग्ने र फल पाक्ने क्रम सगसँगै हुन्छ । सँगै फूल फुल्ने र दाना लाग्ने भएकाले फूल फूलेको २१ दिनमा फल पाक्ने गर्दछ”, घलेले भने । उनका अनुसार फल पाक्न सुरु भएपछि १९ हप्तासम्म प्रत्येक एक हप्ताको फरकमा फल टिप्न सकिन्छ ।
ड्रायगन फलको नेपालमा अत्यधिक माग छ । खुल्ला सिमानाका भएकाले थाईल्यान्डलगायत बाहिरी देशबाट आएको ड्रायगन फ्रुटले नेपाली बजार चलेको छ । बाहिरबाट आयात हुने ड्रायगन फ्रुटलाई रोक नलाएसम्म नेपाली ड्रायगनले बजार नपाउने किसानको भनाइ छ । नेपाली ड्रायगनले खुल्ला बजार नपाएसम्म किसान मर्कामा पर्ने उनीहरु बताउँछन् । पूर्वमा ड्रायगन फ्रुट किसान धेरै भए पनि बजार नभएको किसानले बताउँदै आएका छन् ।
नेपालमा ड्रायगन नयाँ खेती भएकाले मौसमले समस्या उब्जाएको हो । चर्को घामका कारण ड्रायगनका बोट र फल कुहिने, फङगर्स रोग फैलिने, बोटमा कमिला लाग्नेलगायत समस्या आउन थालेको किसानले गुनासो गरेका छन् । ड्रायगन खेती विज्ञताको कमि र औषधिसम्बन्धी ज्ञान नभएका कारण बोटमा फङ्गर्स रोगले सताउने गरेको छ । साना किसानले बजार नपाएर गाउँघरमै डुलाएर फल बेच्नुपर्ने बाध्यता छ ।रासस |
चर्को खडेरीले सुके पानीका मुहान गलेश्वर। चर्को खरेडीले म्याग्दीको मालिका, मंगला र बेनी नगरपालिकालगायत दर्जन बढी गाउँमा पानीका मुहान सुक्न थालेका छन्। यहाँका स्थानीय हिजोआज एक गाग्री पानीका लागि एक घन्टा समय खर्चेर वा नजिकको खोलाको पानी छानेर वा उमालेर खानुपर्ने बाध्यतामा छन्।
पहिले पहिले पानीको छेलोखेलो हुने गाउँका टोलटोलमा अहिले खानेपानीका धारा त छन् तर धारामा प्रायः पानी खस्दैन। लगातारको खडेरी, जलवायु परिवर्तन, वनजङ्गल विनाश र मानवीय क्रियाकलापका कारण गाउँका कुवा, पोखरी, इनार, खोला नदीको पानी घट्दै गएको छ। कतिपय खोला र मूलमा पानी सुकेर सुख्खा बनेका छन्।
पानीका मुहान सुक्न थालेपछि जिल्लामा खानेपानीको समस्या बढ्दै गएको छ। खानेपानीको पर्याप्त सुविधा नभएका यहाँका विभिन्न क्षेत्रका दर्जनौँ बस्तीमा कुवा, पँधेरो र पोखरीबाट पानी उपभोग गरिन्छ। वर्षौँदेखि खानेपानी उपभोगका लागि समस्या नभएका स्थानीयमा अहिले पानीका मुहान सुक्न थालेपछि पानीको समस्या चर्कंदै गएको बताउँछन्।
म्याग्दीको मालिका गाउँपालिका–५ देविस्थानका ७४ वर्षीय डम्मरबहादुर सिउथानी मगर दुई दशकअघिसम्म गाउँको जरुवामा रहेको कुवाबाट पानी पिएको, नुहाएको, लुगा धोएको अनि त्यही कुवाको पानीले घर बनाएको झल्झली सम्झन्छन्।
सोही गाउँपालिका वडा नं ३ रुमका ७६ वर्षीय बलबहादुर विकलाई पनि घरको सिरानमा रहेको पाखो र डहरे खोलाको छेउमा रहेका दुई वटा पोखरीमा भैँसी आहाल बसालेको, पोखरीको पानी कुलाएर रोपाइँ गरेको याद छ। उनका अनुसार आजभोलि शिरानको पाखोमा न पानीको कुवा छ न त डहरेखोलामा पोखरी नै छन्।
वर्षात्मा खानेपानीको समस्या खासै नहुने भए पनि सुक्खा मौसममा खानेपानीका मुहान सुक्न थालेकाले यहाँका स्थानीय काकाकुल बन्ने अवस्थामा पुगेका बेनी नगरपालिका–३ तोराखेतका डिलबहादुर सापकोटाले बताए। “लामो खडेरी र चर्को गर्मीका कारण पानीका मुहान सुक्दै गएका छन्। अबको चार महिना खानेपानीको हामीलाई निकै सकस हुन्छ”, उनले भने।
बेनपा–६ थाकन पोखरी, मङ्गला गाउँपालिका–१ कुहूँ, बेनपा–१ अर्जमलगायत दर्जनौँ गाउँमा खानेपानीका मुहान सुक्दै गएपछि स्थानीयले खानेपानीको समस्या झेल्दै आएका छन्। पानीका लागि स्थानीय घन्टौँ टाढाका पानीका मुहान धाउन थालेका छन्। जिल्लाको बेनी नगरपालिकासहित पाँच वटै गाउँपालिकाका विभिन्न बस्तीमा खानेपानीको अभाव भएपछि स्थानीय समस्यामा परेका हुन्।
केही वर्षयता वातावरणीय प्रदूषण र प्राकृतिक विपत्तिका कारण यहाँको भूगोलमा अप्राकृतिक समस्या देखिन थालेको वन तथा वातावरण क्षेत्रका जानकारहरुले बताउँदै आएका छन्। खासगरी विसं २०७२ सालको भूकम्पयता म्याग्दीको लेकाली क्षेत्रमा समस्या देखिन थालेको वन तथा वातावरण क्षेत्रका अगुवा टीकाबहादुर पुनले बताए।
“भूकम्पका साथै दुई वर्ष अघिको बाढीपहिरो र खडेरीले पानीका मूल सुक्दै गएपछि यहाँ समस्या उत्पन्न भएको छ । मूलहरु पुरिँदै गएका छन्, नयाँ स्रोत देखिएका छैनन्”, उनले भने।
कालीगण्डकी, म्याग्दी नदी र रघुगंगाका जलाधार क्षेत्रमा मात्रै होइन, जिल्लाका अन्य ओसिला ठाउँमा रहेका सयौँ पानीका मुहान सुकिसकेका स्थानीय तहका जनप्रतिनिधिले बताएका छन्। खानेपानीका मुहान सुक्नुमा जलवायु परिवर्तन मात्र नभइ, मानवीय क्रियाकलाप बढी जिम्मेवार देखिएको वातावरण संरक्षणकर्मीको भनाइ छ।
उनीहरुका अनुसार वनजंगल विनाश र अनियन्त्रित विकास निर्माणले पानीका मुहानमा प्रतिकूल असर पारेको छ। डोजरले सडक काट्दा जिल्लाका कतिपय ठाउँमा पानीका मुहान हराउन थालेका वातावरण संरक्षणकर्मी बताउँछन्।
“सडक खन्ने नाममा प्राविधिक रिपोट र वातावरणीय प्रभाव मुल्यांकन नगरी जथाभावी सडक खन्दा पानीका मुहान हराउन थालेका हुन्”, थानीय डिलबहादुर सापकोटाले भने। यही गतिमा विकासका नाममा अनियन्त्रित रुपमा सडक खन्दा केही वर्षमा भूक्षयको समेत जोखिम बढ्ने उनले बताए। उनका अनुसार विकासका नाममा मेसिनले सडक खन्दा पानीका मुहान सुक्नुका साथै मजदुरी गरेर गुजारा गर्दै आएका सर्वसाधारण मर्कामा परेका छन्।
चिन्तामा जेठो पुस्ता
टन्टलापुर घामको उखुम गर्मीमा झरना र कुवाको चिसो पानी पिउँदा बेग्लै आनन्द आउँथ्यो। आँतै हरर्र हुने गरेका ती दिनलाई सम्झँदै जेठो पुस्ता अहिलेको अवस्थाप्रति चिन्तित छन्।
पहाडका कन्दराबाट रसाएर बग्ने पानीका झरना र कुवा अहिले सुक्दै गएपछि गर्मी सुरु हुनेबित्तिकै खानेपानीको अभाव भएको छ। वनजंगल, डाँडाकाँडामा जथाभावी डोजरले सडक खन्दा बाढी, पहिरोजस्ता प्राकृतिक प्रकोप बढेका छन् भने गाउँ, बस्तीमा खानेपानीको अभाव हुन थालेको छ।
वातावरणीय प्रभाव मुल्यांकन नगरी जथाभावी चलेका डोजरले सडक निर्माण भएर यातायातको सुविधा विस्तार भए पनि पानीका मुहान सुकेपछि खानेपानी बोक्न सास्ती हुन थालेको बेनी नगरपालिका–२ का ८९ वर्षीय वेदप्रसाद उपाध्यायले बताए। उनका अनुसार डोजरले वनजंगल, डाँडाकाँडा भत्काउँदै सडक खन्न थालेपछि थुप्रिएको माटोले म्याग्दीका विभिन्न स्थानीय तहमा रहेका खानेपानीका मुहान, झरना र कुवासमेत नासिएका छन्।
“डोजरले जथाभावी सडक खन्दा पानीका प्राकृतिक मुहान संकटमा परेको छन्। कुवा, झरना र जलुकेनी केही रहेनन्, डोजरले सबै सक्यो, यस्तै अवस्था भइरहने हो भने अबका केही वर्षमा नै खानेपानीको हाहाकार उत्पन्न हुन्छ”, उपाध्यायले भने, “बरु सडक घुमाउरो भए पनि केही हुँदैन तर पानीका मुहान भने बचाउन आवश्यक छ।”
गाउँको सिरानमा रहेका पानीका मुहान सुकेपछि म्याग्दीका विभिन्न ठाउँका पुछारमा रहेका खोलाबाट लिफ्ट प्रविधिका खानेपानी योजना निर्माण गरिएका छन्। लिफ्ट प्रविधिबाट अहिले म्याग्दीका बेनी नगरपालिका, मालिका, मंगला, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका विभिन्न वडामा १८ वटा लिफ्ट प्रविधिका खानेपानी योजना निर्माण भइरहेको खानेपानी तथा सररफाइ डिभिजन कार्यालय म्याग्दीले जनाएको छ।
डोजरको रजगजले नासियो जल
डोजरका कारणले मालिका गाउँपालिका–५ देवीस्थानमा खानेपानीका मुहान सुकेका छन्। माईथान मन्दिर नजिकै रहेका चार वटा धारा र कुवामा पानी नहुँदा अहिले गाउँमा खानेपानीको समस्या भएको स्थानीय इन्द्रमति फगामीले बताइन्। गाउँमा रहेका पानीका मुहान सुक्न थालेपछि खोलाको पानी पिउनुका साथै टाढा रहेका पानीका मुहानमा पानी लिन जानुपर्ने बाध्य रहेको उनको भनाइ थियो।
“तीन–चार वर्षअघिसम्म कलकल बग्ने ढोडेनी खोलाको पानी अहिले सुकेको छ। माछा, भ्यागुता र चेपागाँडा कहिल्यै नटुट्ने यो खोला अहिले सुख्खा बगरमा परिणत भएको छ। खोलामा कमिला हिँड्न थालेका छन्”, बेनी नगरपालिका–१ अर्जमका तीलाबहादुर थापाले भने।
जथाभावी डोजर चलाएर सडक खन्दा जमिन हल्लिएको र सडकको माटोले खोला पुरिएको उनको भनाइ छ। गाउँमा खानेपानीको हाहाकार भएपछि खोलाबाट लिफ्ट गरेर पानी तान्ने योजना निर्माण गर्नुपरेको मालिका गाउँपालिका–७ विमका बासिन्दाले बताएका छन्।
“डोजरे विकासका कारण बेनी नगरपालिकाका पुलाचौर, रत्नेचौर, ज्यामरुककोट, सिंगा, छाप, घतान, पात्लेखेतलगायतका गाउँमा पनि खानेपानीमा मुहान सुकेका छन्”, वास्बोटकी यमुना आचार्यले भनिन्। पानीको हाहाकार भएपछि गाउँबाट निकै टाढाको खोलाबाट गाग्रीमा पानी बोकेर गुजारा चलाउनुपरेको उनको भनाइ थियो। डोजरका कारण मालिका, धवलागिरि र मंगला गाउँपालिकाका हराभरा वन मासिन थालेपछि पानीका मुहान संकटमा परेका स्थानीयले बताएका छन्। |
हाइकिङमार्फत मह गाउँको प्रवर्द्धन गण्डकी। शुक्लागण्डकी नगरपालिका-२ मा पर्छ दगाम गाउँ। यस गाउँमा २३ घर रहेका छन्। बीस घरमा मगर तथा तीन घरमा गुरुङ जातिको बसोबास रहेको छ।
गाउँका सबै घरमा मौरीका घार छन्। यहाँको मह स्वदेशमा मात्रै नभई विदेशमा पनि निर्यात हुने गरेको छ। पछिल्लो समयमा त दगामको पहिचान नै मह गाउँ बनेको छ।
उत्तरपट्टि लस्करै मिलेका चाँदीजस्तै टलक्क टल्केका अन्नपूर्ण, धौलागिरि, मनास्लुसहित माछापुच्छ्रेलगायत हिम चुचुरासँग नांगा आँखा जुधाउन सकिनु यहाँको विशिष्टता हो। दक्षिण, पूर्व र पश्चिमतर्फ ठम्याउन सकिने नौवटा जिल्लाका रमणीय दृश्यसमेतले यहाँको पर्यटकीय महत्व चुलिएको छ।
प्राकृतिक सौन्दर्य, स्वच्छ हावापानी, जैविक खाना, मौलिक लोक संस्कृति, स्थानीयको आत्मीय व्यवहार एवं यहाँको महले देश तथा विदेशमा पाएको चर्चासँगै ठाउँठाउँबाट पर्यटक पुग्न थालेपछि स्थानीयवासी हौसिएका छन्।
मह गाउँकै रुपमा बढ्दै गएको चर्चासँगै हाइकर्स क्लब नेपालले आफ्नो ३५ औँ शृङ्खला दगाममा सम्पन्न गरेको संयोजक कृष्ण रानाभाटले जानकारी दिए। ‘स्वास्थ्य र पर्यटनको लागि हाइकिङ’ मूल नाराका साथ विगत तीन वर्षदेखि सञ्चालन भइरहेको हाइकिङ यस पटक दगाममा गरेका हौं”, उनले भने।
“प्रत्येक महिनाको अन्तिम शनिबार पोखरा र आसपासका पर्यटकीय गन्तव्यलाई एक दिने हाइकिङका माध्यमबाट पवर्द्धन गर्ने गरिएकोमा यस पटक दगामलाई छनोट गरिएको उनले बताए।
दगाम सामुदायिक होमस्टे र यहाँका स्थानीयको सरल, निश्चल र सहयोगी भावनालाई यसअघि सुन्ने गरिएकोमा पुगेरै प्रत्यक्ष अनुभव गरिएको उनले सुनाए। दगाम शुद्ध महका लागि पनि पुग्नै पर्ने गन्तव्यका रुपमा आफूहरूले पाएको बताउँदै रानाभाटले हिमाली एवं पहाडी भूभागको दृश्यावलोकनसँगै यहाँको महलाई पर्यटनसँग जोड्न सकिने पर्याप्त सम्भावना रहेको बताए।
दगाम सामुदायिक होमस्टेमा पुग्ने जो कोहीलाई स्थानीयले अतिथि देवो भवःको मन्त्रलाई आत्मसात् गर्दै अबिर, फूलको गुच्छा प्रदान गर्नुका साथै परम्परागत मगर जातिको मौलिक कौरा नृत्यले स्वागत गरिन्छ।
तनहुँ र कास्कीको सिमानामा पर्ने पृथ्वी राजमार्गको कोत्रे बजारबाट दगाम पुग्न गाडीको सुविधा छ भने हाइकिङ गरी ज्वालादेवी सामुदायिक वन, मकनपुर गाउँ, भुजिकोट हुँदै पनि यहाँ पुग्न सकिन्छ।
मौरीपालनका माध्यमबाट दगाम गाउँले आफ्नो छुट्टै पहिचान गराउन सफल भएको अगुवा समाजसेवी नन्दबहादुर थापाले बताए। स्वदेश तथा विदेशमा यहाँको मह पुग्ने गरेको बताउँदै उनले गाउँबाटै प्रतिकिलो रु एक हजार पाँच सयमा बिक्री भइरहेको जानकारी दिए। मह उत्पादन जति गर्न सके पनि बजारको समस्या नरहेको उनको भनाइ छ।
पछिल्ला समयमा विशेषतः बिदाका दिनमा कास्की तथा तनहुँका विभिन्न स्थानबाट पर्यटक दगाम आउने गरेको दगाम सामुदायिक होमस्टे व्यवस्थापन समितिकी अध्यक्ष तिला थापा मगरले बताइन्।
दगामबाट देखिने हिमालसँगै वरपरका हरिया डाँडाहरू, शुक्लागण्डकी क्षेत्रको अतिरिक्त पोखराको फेवातालसम्मका दृश्यमा पर्यटक लोभिने गरेको उनको भनाइ छ। प्रकृति, संस्कृति र आत्मीयताले पर्यटक आउन थालेपछि यहाँका स्थानीयवासी विसं २०६५ मा नेपालकै पहिलो घरवास(होमस्टे) सुरु भएको स्याङ्जाको सिरुबारी गाउँ पुगेका थिए। त्यहाँको अवलोकन पछि दगाममा घरबास सुरु गरिएको उनहाँले जानकारी दिइन्।
घरवास चलाउन २०६३ सालदेखि नै योजना बनाए पनि सिरुबारीको प्रेरणाले यसतर्फ लागिएको स्थानीयवासी बताउँछन्। घरवासमा आउने पर्यटकले कोदो, मकैको परिकारसँगै लोकल कुखुराको मासुलगायतका स्थानीय परिकार नै बढी रुचाउने गरेको स्थानीयको अनुभव छ।
आफूहरूले सकेसम्म भटमास, मस्याङ, गुन्द्रुक, ढिँडो, महलगायतका स्थानीय परिकार नै खुवाउने गरेको अध्यक्ष थापामगरले जानकारी दिइन्। घरवासमा आउने पर्यटकका लागि रु एक हजार चार सयको प्याकेज उपलब्ध छ।
यसमा दिउँसो र बिहानको खाजा, बिहान बेलुकाको खाना, मनोरञ्जन र आवासको सुविधा मिलाइएको छ। प्रत्येक दिन ४० जना पाहुना राख्न सक्ने क्षमता रहेको दगाममा आएका पर्यटकले मह खरिद गरी लैजान थालेपछि स्थानीयवासीमा अझै उत्साह थपिएको छ।
मगर र गुरुङ जातिको संस्कृति पनि यहाँको आकर्षण हो। कात्तिक-मङ्सिरमा बालन नाच, मङ्सिरदेखि माघसम्म नचरी, सोरठी र ख्याली, फागु पूर्णिमादेखि कौरा नाच देखाइने यो गाउँमा संस्कृति संरक्षणलाई पनि उत्तिकै प्राथमिकता दिइएको छ। प्राचीन घाटुनाचको संरक्षणलाई पनि स्थानीयले जोड दिएका छन्।
चैत–वैशाखमा वरपरका जंगलमा ढकमक्क फुल्ने लालीगुराँसले यहाँ आउने जो-कसैको मन लोभ्याउने गर्दछ। गाउँ पर्यटनमा प्रचुर सम्भावना बोकेर पनि पूर्वाधारको अभावका कारण दगाम अझै ओझेलमा गरेको अर्का स्थानीयवासी तीलबहादुर थापामगरले बताए।
दगामको राम्रोसँग प्रवर्द्धन गर्दै पर्यटकको आगमन बढाउन सकेमा यो अन्य स्थानका लागि पनि प्रेरक बन्न सक्ने पाइएको हाइकर्स क्लब नेपालका संयोजक रानाभाटले बताए। “दगाममा उत्पादन हुने महलाई कृषि पर्यटनसँग पनि जोड्न सकिने धेरै सम्भावना छन्”, उनले भने। पृथ्वी राजमार्गको कोत्रेबाट चार/पाँच घण्टाको हाइकिङबाट यहाँ पुग्न सकिन्छ। |
हाइकिङमार्फत मह गाउँको प्रवर्द्धन गण्डकी। शुक्लागण्डकी नगरपालिका–२ मा पर्छ दगाम गाउँ। यस गाउँमा २३ घर रहेका छन्। बीस घरमा मगर तथा तीन घरमा गुरुङ जातिको बसोबास रहेको छ।
गाउँका सबै घरमा मौरीका घार छन्। यहाँको मह स्वदेशमा मात्रै नभई विदेशमा पनि निर्यात हुने गरेको छ। पछिल्लो समयमा त दगामको पहिचान नै मह गाउँ बनेको छ। उत्तरपट्टि लस्करै मिलेका चाँदीजस्तै टलक्क टल्केका अन्नपूर्ण, धौलागिरि, मनास्लुसहित माछापुच्छ्रेलगायत हिम चुचुरासँग नांगा आँखा जुधाउन सकिनु यहाँको विशिष्टता हो। दक्षिण, पूर्व र पश्चिमतर्फ ठम्याउन सकिने नौवटा जिल्लाका रमणीय दृश्यसमेतले यहाँको पर्यटकीय महत्व चुलिएको छ।
प्राकृतिक सौन्दर्य, स्वच्छ हावापानी, जैविक खाना, मौलिक लोक संस्कृति, स्थानीयको आत्मीय व्यवहार एवं यहाँको महले देश तथा विदेशमा पाएको चर्चासँगै ठाउँठाउँबाट पर्यटक पुग्न थालेपछि स्थानीयवासी हौसिएका छन्।
मह गाउँकै रुपमा बढ्दै गएको चर्चासँगै हाइकर्स क्लब नेपालले आफ्नो ३५ औँ शृङ्खला दगाममा सम्पन्न गरेको संयोजक कृष्ण रानाभाटले जानकारी दिए। ‘स्वास्थ्य र पर्यटनको लागि हाइकिङ’ मूल नाराका साथ विगत तीन वर्षदेखि सञ्चालन भइरहेको हाइकिङ यस पटक दगाममा गरेका हौँ”, उनले भने।
“प्रत्येक महिनाको अन्तिम शनिबार पोखरा र आसपासका पर्यटकीय गन्तव्यलाई एक दिने हाइकिङका माध्यमबाट पवर्द्धन गर्ने गरिएकोमा यस पटक दगामलाई छनोट गरिएको उनले बताए।
दगाम सामुदायिक होमस्टे र यहाँका स्थानीयको सरल, निश्चल र सहयोगी भावनालाई यसअघि सुन्ने गरिएकोमा पुगेरै प्रत्यक्ष अनुभव गरिएको उनले सुनाए। दगाम शुद्ध महका लागि पनि पुग्नै पर्ने गन्तव्यका रुपमा आफूहरूले पाएको बताउँदै रानाभाटले हिमाली एवं पहाडी भूभागको दृश्यावलोकनसँगै यहाँको महलाई पर्यटनसँग जोड्न सकिने पर्याप्त सम्भावना रहेको बताए।
दगाम सामुदायिक होमस्टेमा पुग्ने जो कोहीलाई स्थानीयले अतिथि देवो भवःको मन्त्रलाई आत्मसात् गर्दै अबिर, फूलको गुच्छा प्रदान गर्नुका साथै परम्परागत मगर जातिको मौलिक कौरा नृत्यले स्वागत गरिन्छ।
तनहुँ र कास्कीको सिमानामा पर्ने पृथ्वी राजमार्गको कोत्रे बजारबाट दगाम पुग्न गाडीको सुविधा छ भने हाइकिङ गरी ज्वालादेवी सामुदायिक वन, मकनपुर गाउँ, भुजिकोट हुँदै पनि यहाँ पुग्न सकिन्छ। मौरीपालनका माध्यमबाट दगाम गाउँले आफ्नो छुट्टै पहिचान गराउन सफल भएको अगुवा समाजसेवी नन्दबहादुर थापाले बताए।
स्वदेश तथा विदेशमा यहाँको मह पुग्ने गरेको बताउँदै उनले गाउँबाटै प्रतिकिलो रु एक हजार पाँच सयमा बिक्री भइरहेको जानकारी दिए। मह उत्पादन जति गर्न सके पनि बजारको समस्या नरहेको उनको भनाइ छ।
पछिल्ला समयमा विशेषतः बिदाका दिनमा कास्की तथा तनहुँका विभिन्न स्थानबाट पर्यटक दगाम आउने गरेको दगाम सामुदायिक होमस्टे व्यवस्थापन समितिकी अध्यक्ष तिला थापा मगरले बताए।
दगामबाट देखिने हिमालसँगै वरपरका हरिया डाँडाहरू, शुक्लागण्डकी क्षेत्रको अतिरिक्त पोखराको फेवातालसम्मका दृश्यमा पर्यटक लोभिने गरेको उनको भनाइ छ। प्रकृति, संस्कृति र आत्मीयताले पर्यटक आउन थालेपछि यहाँका स्थानीयवासी विसं २०६५ मा नेपालकै पहिलो घरवास(होमस्टे) सुरु भएको स्याङ्जाको सिरुबारी गाउँ पुगेका थिए। त्यहाँको अवलोकन पछि दगाममा घरबास सुरु गरिएको उनले जानकारी दिए।
घरवास चलाउन २०६३ सालदेखि नै योजना बनाए पनि सिरुबारीको प्रेरणाले यसतर्फ लागिएको स्थानीयवासी बताउँछन्। घरवासमा आउने पर्यटकले कोदो, मकैको परिकारसँगै लोकल कुखुराको मासुलगायतका स्थानीय परिकार नै बढी रुचाउने गरेको स्थानीयको अनुभव छ।
आफूहरूले सकेसम्म भटमास, मस्याङ, गुन्द्रुक, ढिँडो, महलगायतका स्थानीय परिकार नै खुवाउने गरेको अध्यक्ष थापामगरले जानकारी दिए। घरवासमा आउने पर्यटकका लागि रु एक हजार चार सयको प्याकेज उपलब्ध छ।
यसमा दिउँसो र बिहानको खाजा, बिहान बेलुकाको खाना, मनोरञ्जन र आवासको सुविधा मिलाइएको छ। प्रत्येक दिन ४० जना पाहुना राख्न सक्ने क्षमता रहेको दगाममा आएका पर्यटकले मह खरिद गरी लैजान थालेपछि स्थानीयवासीमा अझै उत्साह थपिएको छ।
मगर र गुरुङ जातिको संस्कृति पनि यहाँको आकर्षण हो। कात्तिक–मङ्सिरमा बालन नाच, मङ्सिरदेखि माघसम्म नचरी, सोरठी र ख्याली, फागु पूर्णिमादेखि कौरा नाच देखाइने यो गाउँमा संस्कृति संरक्षणलाई पनि उत्तिकै प्राथमिकता दिइएको छ। प्राचीन घाटुनाचको संरक्षणलाई पनि स्थानीयले जोड दिएका छन्।
चैत–वैशाखमा वरपरका जंगलमा ढकमक्क फुल्ने लालीगुराँसले यहाँ आउने जो–कसैको मन लोभ्याउने गर्दछ। गाउँ पर्यटनमा प्रचुर सम्भावना बोकेर पनि पूर्वाधारको अभावका कारण दगाम अझै ओझेलमा गरेको अर्का स्थानीयवासी तीलबहादुर थापामगरले बताए।
दगामको राम्रोसँग प्रवर्द्धन गर्दै पर्यटकको आगमन बढाउन सकेमा यो अन्य स्थानका लागि पनि प्रेरक बन्न सक्ने पाइएको हाइकर्स क्लब नेपालका संयोजक रानाभाटले बताए। “दगाममा उत्पादन हुने महलाई कृषि पर्यटनसँग पनि जोड्न सकिने धेरै सम्भावना छन्”, उनले भने। पृथ्वी राजमार्गको कोत्रेबाट चार/पाँच घण्टाको हाइकिङबाट यहाँ पुग्न सकिन्छ। |
ड्रागन खेती : बजार खोज्दै कृषक पथरी। पछिल्लो समय ड्रागन खेतीतर्फ कृषकको आकर्षण बढ्दै गएको छ। खेतीमा जोड दिएपनि ड्रागन बिक्री गर्न कृषकलाई बजारको अभाव भएको छ।
विदेशबाट आयातित ड्रागनमा रोक लगाउनुपर्ने र शीत भण्डारको व्यवस्था गर्न कृषकले माग गरेका छन्। ‘ड्रागन फ्रुट प्रोडक्ट एसोसिएसन नेपाल’ कोशी प्रदेशले यसबारे हालै प्रदेश स्तरीय भेला आयोजना गरेका थिए। नेपालमा उत्पादित ड्रागनले बजार नपाएको भन्दै उनीहरुको यसबारे सरकारको ध्यानाकर्षण गराएका छन्। ड्रागन बिक्री गर्न समस्या भएको भन्दै कृषकले चिन्ता व्यक्त गरेका छन्।
पछिल्लो समय नेपालमा ड्रागनको माग बढेसँगै ड्रागन खेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ। एक पटक सुरु गरेको व्यवसायले २५ वर्षसम्म धान्ने भएपछि कृषक यो व्यवसायप्रति आकर्षित हुँदै आएका छन्। नेपालमा खुला बजार, शीत भण्डारलगायत समस्या समाधानको उपाय खोज्न व्यवसायी एकीकृत भएका छन्।
एसोसिएसन नेपालका केन्द्रीय कोषाध्यक्ष गणेश राईले बाहिरी आयातमा रोक लगाउनुपर्ने र शीत भण्डारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। नेपालमा व्यवसायी कृषकले ठूलो क्षेत्रमा ड्रागनको खेती गर्दै आएका छन्। यस वर्ष खेतीअनुसार फल पनि राम्रै उत्पादन भएको छ। तर बजार नभएका कारण फलले उचित मूल्य पाएको छैन। “कहाँ लगेर बेच्ने भनेर कृषक चिन्तित छन्”, उनले भने।
यसरी नै फल उत्पादन भए र शीत भण्डार नभए फल बारीमै कुहिने अवस्था आउने पूर्वाञ्चल मल्टिपल एग्रिकल्चरका सञ्चालक तथा एसोसिएसनका कोशी प्रदेश अध्यक्ष जयबहादुर तामाङले बताए। अघिल्लो वर्ष फार्ममै प्रतिकिलो रु सात सय ५० मा बिक्री भएको फल यस वर्ष रु पाँच सयमा पनि बिक्री गर्न मुस्किल भएको उनको भनाइ छ।
यसै ड्रागन खेती गर्दै आएका कृपासुर घले सबै व्यवसायी एक भएर अघि नबढे समस्या आउने बताउँछन्। ड्रागन खेती विज्ञताको कमि र औषधिसम्बन्धी ज्ञान नभएका कारण रोग लाग्ने समस्या देखिएको छ। साना किसानले बजार नपाएर गाउँघरमै सस्तोमै बेच्नुपर्ने समस्या छ। साना र ठूला किसान एकै ठाउँमा संगठित भई यसको विकल्प खोज्नुपर्नेमा एसोसिएसनले जोड दिएको छ। – रासस |
मुगुको सोरुमा खाद्यान्न संकट मुगु। मुगुको सोरु गाउँपालिका भीइ गाउँकी कमला नेपाली खाद्यान्न लिन चार घण्टा हिँडेर बुधबार सोरुकोट आइन्। बिहान बेलुका छाक टार्न मुस्किल भएपछि उनी खाद्यान्न लिन सोरुकोट खाद्य डिपो आएकी हुन्।
“घरमा अन्न सकियो, त्यसैले चार घण्टा हिँडेर सोरुकोट चामल लिन आएकी हुँ”, नेपालीले भनिन्, “गाउँमा भोकमरी छ, अनाज किन्न पाइँदैन।”
नेपाली मात्रै नभई आठ गाउँका बासिन्दा चामल किन्न सोरुकोट आएका छन्। सोरुकोट डिपोमा पनि पर्याप्त मात्रामा चामल छैन। घण्टौँ लाइनमा बसेर पनि उनीहरुले चाहेजति चामल पाउन सकेका छैनन्।
“भोकभोकै पैँतला दुखाएर सोरुकोट खाद्यान्न लिन आए”, भीइ गाउँकी पानमती डागरले भनिन्, “एक प्याकेट चामल पाउन पनि सास्ती भयो।”
सोरु गाउँपालिकाका सबै गाउँमा खाद्यान्न अभाव चुलिएको छ। गत वर्ष असोजको बाढी पहिरोले गहुँ, जौँ नष्ट हुँदा स्थानीयलाई अनिकालले पिरोलेको हो। ज्यालादारी गरी कमाएको पैसा बोकेर स्थानीयवासी चामल खरिद गर्न खाद्य डिपोदेखि व्यापारीको दैलो चहार्न थालेका छन्। केही स्थानीयले खेतबारीमा पाकेको गहुँ र जौँबाटै गर्जो टार्न थालेका छन्।
सोरुकोट खाद्य डिपोमा पनि पर्याप्त चामल नभएकाले गाउँघरमा भोकमरी भएको सोरु गाउँपालिका–३ का वडाध्यक्ष सिंहबहादुर धामीले बताए। सोरुकोट खाद्य डिपोको वार्षिक चामलको कोटा एक हजार पाँच सय क्विन्टल हो। उनीहरुलाई अनुदानको चामल पाउन मुस्किल हुने गरेको छ।
सोरुकोट खाद्य डिपोमा वार्षिक कोटा नै कम भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिडेटका प्रमुख पुस्कर भामले बताए। “चामलको कोटा बढाउन काम गर्दै आएका छौँ”, उनले भने। – रासस |
गर्मीले दैनिक जनजीवन कष्टकर टिकापुर। कैलालीमा एक सातायता गर्मी बढेपछि दैनिक काम गरेर गुजारा गर्नेको दैनिकी कष्टकर भएको छ।
कैलालीको गर्मी ४२ डिग्री सेल्सियस पुगेपछि यहाँको जनजीवन प्रभावित भएको छ। दैनिक ज्यालादारी गर्ने, रिक्सा चलाउने, सडक किनारमा सामान बेचबिखन गर्ने, ठेला व्यवसायीलाई बढी समस्या भएको छ।
रिक्सा चालक माया चौधरी पाँच वर्षदेखि टीकापुरको बजारमा रिक्सा चलाउँछिन्। यस वर्ष एक सातायता अत्यधिक गर्मी बढेपछि उनलाई रिक्सा चलाउन कठिन भएको छ।
“गर्मीमा निकै गाह्रो हुन्छ, ओठमुख सुक्छ, तातो हावा चलेर ओठ मुख सुकेका छन्, दिउँसोको समयमा आँखा पनि पोल्न थाल्छ”, मायाले भनिन्, “दिउँसोको घाममा रिक्सा चलाउन सकेको छैन। केही दिनदेखि गाह्रो भएको छ।”
अर्का रिक्सा चालक दिलबहादुर चौधरी पनि तातो हावा र गर्मी सहन कठिन भएको बताउँछन्। “यात्रु बोकेर हिँड्दा सबै ठाउँमा चिसो पानी खान पाइँदैन, एकातिर गर्मी, अर्कोतर्फ तातो पानी पिउन सकिँदैन”, उनी भन्छन्, “कहिलेकाहीँ त मुटु पनि दुख्छ। हिजो त गर्मीले मुटु दुख्न थालेपछि दिनभरि रिक्सा चलाउन गएन।”
विगत पाँच वर्षदेखि रिक्सा चलाएर जीवन धानेकी लक्ष्मी चौधरी पनि यस वर्ष दिउँसोमा रिक्सा चलाउन नसकेको बताउँछन्। ज्यालादारी गर्नुभन्दा अटोरिक्सा चलाउन थालेकी लक्ष्मीलाई पनि गर्मीले हैरान पारेको छ।
“गर्मीले यात्रु बोक्न सकिएको छैन, साँझ र बिहान मात्र चलाउँछु, दिनभरि लचाए पो कमाइ हुन्छ”, उनी भन्छन्, “थोरै काम गर्दा पनि गर्मीले बेलुका थाकिन्छ, एकातिर गर्मीमा रिक्सा चलाउनु, अर्कोतर्फ भान्सामा काम गर्दा पनि गर्मी हुन्छ। महिलालाई त कठिन मात्र।”
राधाकृष्ण थारुलाई पनि यस्तै समस्या छ। “बाटा राम्रो छैनन्। धुलैधुलो, खाल्डाखुल्डी भएको सडकमा गर्मी छल्न मुस्किल भएको छ”, उनले भने, “गर्मीमा दिउँसो यात्रु बोक्न पनि सकिँदैन, गर्मीमा यात्रु पनि पाइँदैनन्।”
गर्मी बढेपछि दैनिक ज्यालादारी काम गर्नेलाई पनि समस्या भएको छ। दैनिक घर निर्माणको काममा संलग्न राधेश्याम चौधरी पनि एक सातादेखि काममा जान सकेका छैनन्। “घरको मसला बनाउँदै थिए, एक दिन गर्मीले ढलेछु। साथीहरुले अस्पताल लगेर उपचार गरेर बचाए”, राधेश्यामले भने, “त्यसपछि काममा गएको छैन। पानी परेपछि अलि शीतल भएमा काममा जाउला भनेको छु।”
राधाश्यामजस्तै अन्य कामदारसमेत गर्मीले नियमित काममा जान सकेका छैनन्। गर्मी बढेपछि टीकापुर अस्पतालमा समेत विभिन्न समस्या भएका बिरामी बढेको छन्।
तापक्रम बढ्दै जाँदा मानिसको स्वास्थ्यमा थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, बेहोस हुनेजस्ता समस्या देखा पर्छन्। गर्मीको समयमा मानिसको शरीरमा पानीको मात्रा घटी मानिस बेहोस हुने, बिरामी हुने, ज्वरो आउनेलगायतका समस्या देखिएका बिरामी बढेका अस्पतालले जनाएको छ।
गर्मी बढेपछि विद्यालयमा बिदा
गर्मी अत्यधिक बढेपछि कैलालीका विद्यालयमा गर्मी बिदा दिन थालिएको छ। गर्मी बढेपछि बालबालिकालाई विद्यालय जान आउन कठिन भएको छ। बालबालिका गर्मीले विद्यालयबाट आउँदा ओठमुख सुकाएर आउने भएकाले अभिभावकले बिदा दिन माग गरेका हुन्।
पछिल्लो समय अत्यधिक गर्मी बेढेकाले विद्यार्थी र शिक्षकको स्वास्थ्यमा असर पर्ने देखिएकाले हिउँदे वा बर्से बिदाबाट मिलाउने गरी बिदा दिइएको पालिकाले जारी गरेका सूचनामा उल्लेख छ।
गर्मी बढेकाले कैलालीको टीकापुर नगरपालिकाले असार १ गतेबाट बिदा दिने निर्णय गरेको छ। धनगढी उपमहानगरपालिका र कैलारी गाउँपालिकाले यसअघि नै बिदा दिइसकेका छन्।
गर्मीले बालबालिकालाई विद्यालय जान र विद्यालयमा समेत शिक्षणमा समस्या भएपछि बिदा दिन थालिएको हो । टिनका छाना, प्रचण्ड गर्मी, कतिपय विद्यालयमा पङ्खासमेत नभएको अवस्थामा विद्यालयमा पठनपाठनमा समस्या भएको शिक्षक बताउँछन्। रासस |
मौलिकता गुमाउँदै घान्द्रुक गण्डकी। विसं २०२६/२०२७ तिरको कुरा हो, घान्द्रुकका शंकरमान गुरुङ त्यही गाउँको विद्यालयमा पढाउने गर्थे। गाउँको तल विद्यालय थियो। उनी विद्यालय आउजाउ गर्दा बाटोमा फाट्टफुट्ट विदेशी भेटिन्थे। उनीहरु को हुन्, किन आएका हुन्? कसैलाई पत्तो थिएन। पहिलोपालि आएका पर्यटक घान्द्रुकका लागि नौला थिए।
उतिबेला घरगाउँमा कोही नचिनेको मान्छे आयो भने ‘जासुसी गर्न’ आएको भनेर शंकाको दृष्टिले हेरिन्थ्यो। विदेशी आउने क्रम बढेपछि शिक्षक गुरुङले सोधखोज गर्न थाले। अनि थाहा भयो, उनीहरु त घुमफिरका लागि आएका पर्यटक पो रहेछन्। त्योबेला घान्द्रेकमा होटल, रेष्टुराँको कल्पना नै थिएन।
पर्यटकले खाने र बस्ने ठाउँ खोज्दै हिँडेको देखेपछि उनले आफ्नै घरमा लैजान थाले। “घरमा जे पाक्छ उनीहरु त्यही खान्थेँ, सामान्य कोठामा सुत्थे”, शिक्षक गुरुङले विगत कोट्याए, “गाउँका अरुले राख्न मानेनन्, मैले राखेँ, अङ्ग्रेजी भाषाको अलिअलि ज्ञान भएकाले पनि मलाई सजिलो भयो।”
व्यापार गर्ने नभई घरमा आएका पाहुनालाई सेवा-सत्कार गर्ने संस्कार गुरुङहरुमा थियो। शिक्षक गुरुङले पनि सुरुसुरुमा त्यसै गरे। “विदेशीलाई राखेर यतिउती पैसा लिनुपर्छ भन्ने हामीलाई थाहा नै थिएन, न हाम्रो संस्कारमा पथ्र्यो”, उनले भने, “हाम्रो आतिथ्यताबाट खुसी भएर उनीहरु आफैँले केही पैसा छाडेर जान्थे।”
विस्तारै शिक्षक गुरुङको घरमा बास बस्न आउने पर्यटकको सङ्ख्या बढ्दै गयो। अरु गाउँलेले पनि पर्यटक भेटेपछि शिक्षककै घरमा पठाउन थाले। “घान्दु्रक आएका पर्यटकलाई पहिलोपटक घरमै राखेर सेवा दिएको हामीले नै हो”, उनले सुनाए, “पछि मैरे नाता पर्ने कुलबहादुर गुरुङले घान्द्रुकमा पहिलो होटल खोल्नुभयो।”
पर्यटकलाई लक्ष्य गरी खोलिएको उक्त होटलको नाम फिस्टेल थियो। जुन अहिले बन्द छ। विसं २०२७ तीर फिस्टेल होटल खुलेपछि अर्को वर्ष शिक्षक गुरुङले कोटगाउँमा होटल अन्नपूर्ण खोले। उनले कान्छोबुबाको घरमा होटल चलाएका थिए। पछि त्यही घर किनेर विसं २०५० सम्म अन्नपूर्ण कै नाममा होटललाई निरन्तरता दिए।
अठहत्तर वर्षीय शिक्षक गुरुङ अहिले पनि होटल व्यवसायमा छन्। चौहत्तर वर्षीया श्रीमती बेलकुमारीको दरिलो साथ पनि रहँदै आएको छ। गुरुङका छोरा मिलन भने सपरिवार बेलायत बस्छन्। विसं २०५० पछि छोराको नाममा मिलन होटल चलाउँदै आएका छन्, गुरुङ दम्पत्तीले। “पहिलेको भन्दा अझ राम्रो भ्यू प्वाइन्ट भेटाएपछि होटल त्यहीँ बनायौँ, नाम पनि नयाँ राख्यौँ”, उनले भने।
विसं २०५० मै शिक्षण पेसाबाट सेवानिवृत्त भएपछि गुरुङले पुरै समय होटललाई दिन थाले। झण्डै ५४ वर्षदेखि आतिथ्य सेवामा सक्रिय उनलाई घान्द्रुक कै पहिलो पर्यटन व्यवसायीका रुपमा चिनिन्छ। घान्द्रुकको पर्यटनको कुरा गर्दा शिक्षक गुरुङको नाम जहिल्यै पनि अघि आउँछ।
“मैले होटल सुरु गर्दा बाटोको छेउमा बसेर के गरेको होला भनेर मान्छेले भन्थे”, उनले भने, “कमाइ हुन्छ भन्ने थाहा पाएपछि पछि गाउँका अरु पनि होटल व्यवसायमा लागे।” विसं २०४०/२०४२ देखि घान्द्रुकमा होटल थपिँदै जान थाले। पर्यटकको आउजाउ पनि बाक्लिन थाल्यो।
कास्कीको अन्नपूर्ण गाउँपालिका-१० र ११ स्थित घान्द्रुक गाउँ चल्तीको गन्तव्यकारूपमा देशीविदेशी माझ परिचित छ। बर्सेनि हजारौँ पर्यटकले त्यहाँ पाइला टेक्छन्। प्रकृति र संस्कृतिमा रमाउँछन्। पर्यटकीय चहलपहल बढेपनि घान्द्रुकको असली पहिचान गुम्ने हो की! भन्ने पिरलो गुरुङलगायत गाउँका अगुवालाई छ।
घान्द्रुक उहिलेको जस्तो छैन। जीवनशैली, रहनसहन फेरिँदो छ। नयाँ बनिरहेका संरचनाले गाउँको मौलिक स्वरुप खल्बलिएको छ। “विदेशीले यहाँ सडक नल्याउनू, ठूला सुविधासम्पन्न होटल पनि नखोल्नु भन्थें”, शिक्षक गुरुङले सुनाए, “तर जमानाअनुसार चल्नुपर्ने व्यवसायीलाई पनि बाध्यता छ, अहिले ठूल्ठूला भवन बने, गाउँमा मोटरबाटो पनि आयो।”
सडकले पदमार्ग भत्केका छन्। पर्यटक धूलो-हिलो सहँदै सडकबाटै पर्यटक हिँडेका भेटिन्छन्। हिमालको काखमा पहाडे शैलीका लहरै घर। ग्रामिण परिवेश र हावापानी। गुरुङ समुदायको कला, संस्कृति र रहनसहन।
पाहुनाको सत्कारका लागि खुलेका घरबास। गाउँकै उब्जनीबाट बनेका परिकार। पहिलेपहिले घान्द्रकुमा पर्यटक लोभ्याउने चीज यिनै थिए। अहिले घान्द्रुक विस्तारै कङ्क्रिटले ढाकिँदैछ।
पर्यटकको आउजाउ बढेसँगै कराडौँ लगानीमा होटलदेखि रिसोर्टसम्म खुलेका छन्। आधुनिकताले गाउँको पुरानो चिनारीलाई विस्थापित गर्दैछ। घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले बढ्दो व्यवसायीकरणले घान्द्रुकको मौलिकपन गुम्दै गएको धारणा व्यक्त गरे।
“यो विषय हामी सबैलाई महशुस भएको छ, नयाँ संरचना बनाउँदा मौलिकता झल्कने गरी बनाउनेतिर जोड दिएका छौँ”, उनले भने, “कतिपय व्यक्तिले पुराना र जीर्ण घरलाई पनि संरक्षण गर्न थालेका छन्।”
मौलिकता जोगाउन नसके घान्द्रुकको पर्यटनको भविष्य पनि संकटमा पर्ने स्थिति देखिएको स्वयं पर्यटन व्यवसायीले बताए। अन्नपूर्ण सेञ्चुरी पर्यटन समितिका अध्यक्ष ललित गुरुङले घान्द्रुकमा बनिरहेका ठूल्ठूला संरचनाबारे पर्यटकबाटै गुनासो आइरहेको बताए।
“हुन त व्यवसायीको पनि बाध्यता होला, जग्गा अभाव भएका कारण धेरै तला थपेको हुनसक्छ”, उनले भने, “पक्कै हो घान्द्रुक पहिले जस्तो छैन, परम्परागत घर धेरै हटिसके।”
स्थानीय पहिचान दिन सकिएन भने हिमाल हेर्न मात्रै पर्यटक नआउन पनि सक्ने उनको भनाइ थियो। घान्द्रुकबाट नजिकै देखिने अन्नपूर्ण र माछापूच्छ्रे हिमशृङ्खलाको दृश्यले जोकोहीलाई पनि लोभ्याउँछ।
देशविदेशसम्म चिनिएको गन्तव्य भएकाले घान्द्रुकको एकीकृत र पर्यटनमैत्री हिसाबले पूर्वाधार विकास गर्नुपर्नेमा अध्यक्ष गुरुङको जोड थियो। घान्द्रुकको पर्यटन प्रवर्द्धनका लागि समितिले बर्सेनि अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सव गर्दै आएको छ।
स्थानीयवासी धनसुबा गुरुङले ढुंगामाटाले बनेका पुराना घर भत्काउँदै नयाँ बनाउने क्रम बढेको बताए। “काठ किराले खायो भन्छन्, सिमेन्टका अग्लाअग्ला घर बनिरहेका छन्, यस्तै छ खै कस्लाई के भन्ने”, उनले भने, “गाउँमा खेतीपाती गर्ने पनि छैनन्, सबै बजारको ल्याएर खानुपर्छ।”
डाँडागाउँका केही घरलाई भने अझै पनि जोगाएर राखिएको छ। केही व्यवसायीले पुरानै घरलाई सिँगारेर होटलका रुपमा चलाएका छन्।
गाउँमा आउने पर्यटकलाई देखाउने गुरुङ संस्कृतिका गीतनाच पनि लोपन्मुख अवस्थामा पुगेका छन्। पर्यटक लोभ्याउने घरबास विस्तारै खस्किँदै जान थालेका छन्। कतिपयले घरबासलाई होटलमा परिणत गरिसकेका छन्। स्थानीय उत्पादन नभएपछि घरबासमा पनि बजारकै परिकार पाक्छन्।
केही दिनअघि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डले घान्द्रुकमा आयोजित पर्यटन महोत्सवमा पहिचान नमेटिने गरी भौतिक पूर्वाधारको विकास गर्नुपर्ने बताएका थिए।
उनले घान्दु्रकको मौलिकता विस्तारै ह्रास हुँदै गएकामा चिन्तासमेत व्यक्त गरे। “पर्यटक घान्द्रुकको गाउँले परिवेश र संस्कृति हेर्न आउँछन्, यसलाई जोगाइएन भने भोलि यहाँको पर्यटन खस्किन सक्छ”, मुख्यमन्त्री पाण्डेको भनाइ थियो।
पर्यटन व्यवस्थापन समितिका अनुसार घान्द्रुकमा रिसोर्टसहित ५४ वटा होटल छन्। अठार वटा घरबास छन्। पर्यटकस्तरीयदेखि सामान्यसम्म गरी होटलमा आठ सय कोठा छन्।
पर्यटन व्यवसायमा अर्बौँको लगानी छ। सयौँले रोजगारी पाएका छन्। पर्यटकीय याममा एकैदिनमा दुई/तीनहजारसम्म पर्यटक त्यहाँ पुग्छन्। स्वदेशीपछि सबैभन्दा बढी चिनियाँ पर्यटकले घान्दु्रकलाई गन्तव्य बनाउँछन्।
भारतीयदेखि युरोप, अमेरिकासम्मका पर्यटक त्यहाँ पुग्ने गरेका छन्। अन्नपूर्ण संरक्षण क्षेत्रको अन्नपूर्ण आधार शिविर, म्याग्दीको पुनहिल-घोरेपानीलगायत जोड्ने पदमार्गमा पर्ने घान्द्रुक पर्यटकको विश्रामस्थलका रुपमासमेत लिइन्छ।
पोखरा-बागलुङ राजमार्गको नयाँपुलदेखि बिरेठाँटी, स्याउलीबजार, किञ्चे हुँदै पाँच/छ घण्टाको पदयात्रामा घान्दु्रक पुग्न सकिन्छ । मोटरमा जाँदा एक/डेढ घण्टामै पुग्न सकिन्छ। |
औषधि पसल सञ्चालक नौ भारतीय पक्राउ दोधारा चाँदनी। कञ्चनपुरको दोधारा चाँदनीमा अवैधरुपमा औषधि पसल सञ्चालन गर्ने नौ भारतीय नागरिक पक्राउ परेका छन्। उनीहरुलाई बुधबार पक्राउ गरिएको हो।
दोधारा चाँदनी नगरपालिकाभित्र अवैधरुपमा औषधि पसल सञ्चालन गरेर औषधि बिक्री वितरण गर्दैआएका नौ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरतराज गिरीले जानकारी दिए।
“नौ भारतीय नागरिकलाई औषधिसहित नियन्त्रणमा लिएका छौं”, उनले भने, “उनीहरुमाथि अनुसन्धान गरी कारबाहीका लागि स्वास्थ्य विभाग पठाउँछौं।”
पक्राउ पर्नेमा भारतको उधमसिंह नगरका सञ्जय विश्वास, कार्तीक सरदार, रवि विश्वास, निवास गाइन, निरन्जन अधिकारी र भूपेन्द्र पुरी तथा भारत पिलिभितका राजेश विश्वास, सन्तोष सरकार र सुधान्सु हल्दार रहेका छन्। रासस |
झापाका स्थानीय तहले बुझाएनन् पूर्ण खोपको प्रतिवेदन बनियानी । झापाका १४ स्थानीय तहले पूर्ण खोप सुनिश्चितताको प्रतिवेदन बुझाएका छैनन् ।
पालिकास्तरको नगर खोप समन्वय समितिले वैशाख महिनाभित्रै पूर्ण खोप सुनिश्चित भएको तथ्याङ्कसहितको प्रतिवेदन जिल्ला खोप समन्वय समितिलाई बुझाउनुपर्ने भए पनि हालसम्म नबुझाएको स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटीले जानकारी दिए । जिल्लाका १५ स्थानीय तहमध्ये कनकाई नगरपालिकाले मात्र प्रतिवेदन बुझाएको छ । प्रतिवेदन नबुझाएका कारण जिल्ला खोप समन्वय समितिको बैठक बस्न नसकेको प्रमुख बाराकोटीले बताए ।
“खोप नलगाउने बालबालिकामा सङ्क्रमणको जोखिम धेरै हुन्छ”, उनले भने । बालबालिकामा देखिने महामारी नियन्त्रण, न्यूनीकरण र पूर्वतयारीका लागि पूर्ण खोपको विवरण आवश्यक हुने उनको भनाइ छ ।
पालिकाबाट आएको प्रतिवेदनका आधारमा जिल्लालाई प्रत्येक वर्ष पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्ने गरिन्छ । सरकारले दिने आवश्यक सहयोग र नगरपालिकाले बजेटमा समेट्नुपर्ने कुराका लागि पनि खोपको तथ्याङ्क आवश्यक हुन्छ ।
भद्रपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख शान्तिराम भट्टराईले पूर्ण खोपको काम अन्तिम चरणमा पुगेको बताए । उनले आइतबारदेखि अनुगमन गरिने बताए । नगरमा खोप लगाउन छुटेका एक सय १२ तथा खोप नै नलगाएका दुई जना फेला परेको उनले जानकारी दिए । |
पत्रकारको स्वास्थ्य बीमा प्रदेश सरकारले गरिदिन्छ– मुख्यमन्त्री पाण्डे कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशभित्र कार्यक्षेत्र भएका सबै पत्रकारको स्वास्थ्य बीमा प्रदेश सरकारले गरिदिने बताएका छन् ।
पत्रकारको हकहितका विषयमा प्रेस सेन्टर नेपाल, गण्डकी प्रदेश समितिबाट आज ध्यानाकर्षणपत्र बुझ्दै उनले आगामी आवको बजेटमा उक्त कार्यक्रम समावेश हुने उल्लेख गरे ।
“हाम्रो क्षमताले भ्याएसम्म पत्रकारिता क्षेत्रको विकासमा हातेमालो गर्न प्रदेश सरकार तयार छ, पत्रकारको स्वास्थ्य बीमाको कार्यक्रम नीतिमा आइसकेको छ, बजेटमा पनि आउँछ”, मुख्यमन्त्री पाण्डेले भने, “वास्तविक पत्रकारको हातमा बीमाको सुविधा जाओस् भन्ने हाम्रो चाहना छ, यसमा तपाईंहरूको सहयोग चाहिन्छ ।”
लोककल्याणकारी विज्ञापन, पत्रकारको लेखनवृत्ति, क्षमता विकासलगायतका क्षेत्रमा पनि सरकारले सहयोग गर्ने उनले बताए । मुख्यमन्त्री पाण्डेले पत्रकारिता स्वच्छ, स्वतन्त्र र मर्यादित हुनुपर्ने धारणा राखे । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षामा प्रदेश सरकार दृढ रहेको उनको भनाइ थियो ।
प्रेस सेन्टरले पत्रकारितासँगै देशको समसामयिक अवस्थाबारे आज प्रधानमन्त्रीसहित, सातै प्रदेशका मुख्यमन्त्री र प्रमुख जिल्ला अधिकारीसमक्ष ध्यानाकर्षणपत्र बुझाएको हो । ध्यानाकर्षणपत्रमा श्रमजीवी पत्रकार र सञ्चार क्षेत्रले भोगिरहेका समस्याको समाधान गर्न माग गरिएको छ ।
सरकारले ल्याएको समानुपातिक विज्ञापन नीतिलाई व्यावहारिकरूपमा कार्यान्वयन गर्नुपर्ने, संविधानले सुरक्षित गरेका जनपक्षीय उपलब्धिलाई संस्थागत गर्नुपर्ने, आमसञ्चारसँग सम्बन्धित कानून प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामैत्री हुनुपर्ने, पत्रकारलाई सामाजिक सुरक्षा कार्यक्रममा समेट्नुपर्नेलगायतका माग गरिएको छ । |
बागमती प्रदेश युवा सम्मेलन हेटौँडामा हुँदै हेटौँडा। बागमती प्रदेश युवा परिषद्को आयोजनामा आगामी असार ११ र १२ गते हेटौँडामा प्रदेश युवा सम्मेलन हुने भएको छ।
सोमबार बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयको सभाहलमा पत्रकार सम्मेलन गर्दै आयोजक प्रदेश युवा परिषद्ले सम्मेलनबारे जानकारी गराएको हो।
बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले सम्मेलनबारे जानकारी गराए। युवा पुस्तालाई मुलुक र समाजप्रति जिम्मेवार, नवप्रवर्तन, उद्यमशीलता र व्यक्तित्व विकास गर्न सम्मेलन आयोजना गरिएको उपाध्यक्ष चौलागाईले बताए।
अहिले सबै क्षेत्रमा युवाहरुको सहभागिता सोचेअनुरुप नभइरहेको उनले बताए। देशमा युुवाहरु अहिले रित्तिँदै गइरहेको अवस्था जोगाउन सम्मेलन आयोजना गर्न लागिएको उनले बताए।
युवा पुस्तालाई मुलुक र समाजप्रति जिम्मेवार बनाउन, नवप्रवर्तन, उद्यमशीलता र उच्च व्यक्तित्व विकास गर्न प्रेरित गर्ने उद्देश्यले युवा सम्मेलनको आयोजना गरिएको कार्यकारी उपाध्यक्ष चौलागाईको भनाइ छ।
प्रदेश युुवा परिषद्की अध्यक्ष एवम् बागमती प्रदेश सरकारकी सामाजिक विकासमन्त्री कुमारी मोक्तानले प्रदेशभित्रका युवाहरुको सन्दर्भमा केही गरौं र नयाँ गरौं भन्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको बताइन्।
कार्यक्रमले समग्र युवालाई अगाडि बढाउन प्रभावकारी भूमिका निर्वाह गर्ने उनको भनाई छ। आयोजना गर्न लागिएको सम्मेलन अरुभन्दा फरक भएकाले युवाहरुका लागि यो अवसरको कुरा रहेको उनले बताइन्। उनले प्रदेश युवा परिषद्का क्रियाकलाप उल्लेखनीय र प्रभावकारी भएको पनि दावी गरेकी छन्
सम्मेलनमा प्रदेशका १३ जिल्लाबाट समावेशी अवधारणाअनुसार १ सय ५० युवाको सहभागिता रहने जनाइएको छ। सम्मेलनमा युवाको सहभागितालाई प्रभावकारी बनाउन जिल्लाको सामुदायिक क्याम्पसका उत्कृष्ट विद्यार्थी, आदिवासी जनजाति, दलित, सीमान्तकृत समुदायलाई प्राथमिकता दिई कम्तिमा २ जना युवा महिला सहभागी हुने जनाइएको छ।
जिल्लाबाट जिल्ला युवा समितिमार्फत् नै ७५ जना सहभागी सिफारिस गर्नेछ भने अनलाइनमार्फत् सहभागिताका लागि ६० जना युवा सहभागी हुने जनाइएको छ। यस्तै, सरोकारवाला निकायको सिफारिसमा १५ जना सहभागी हुनेछन्। सम्मेलनमा २० देखि ३५ वर्ष उमेर समूहका युवाहरु सहभागी हुने जनाइएको छ।
सम्मेलनमा युवालाई अभिमुखीकरण र अभिप्रेरित गर्ने गरी ख्यातिप्राप्त व्यक्तित्व, सम्बन्धित क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तित्वलाई श्रोतव्यक्तिको रुपमा सहभागी गराउने जनाइएको छ। सम्मेलनमा सहभागी युवाले आफ्ना अनुभव, अपेक्षा र योजना प्रस्तुत गरेर श्रोतव्यक्तिसँग अन्तरक्रिया गर्ने जनाइएको छ।
सम्मेलनमा ५ वटा सत्रको आयोजना गरिने जनाइएको छ। सम्मेलनमा नवप्रवर्तन र नवीनतम् सोचको विषयमा कारखाना समूहका प्रमुख कार्यकारी अधिकृत पवित्रबहादुर गौतमले युवासँग अन्तरक्रिया गर्नेछन्।
सूचना प्रविधिका विषयमा युवा वैज्ञानिक कोषका सदस्य डा. गिरिराज त्रिपाठीले सम्मेलनमा सहभागी युवासँग अन्तरक्रिया गर्नेछन्। यस्तै, सामाजिक र सार्वजनिक जीवनमा युवा सहभागिताका विषयमा टेलिभिजन पत्रकार टीकाराम यात्री र विद्या चापागाईंसँगै लेखक तथा विश्लेषक केशव दाहालले अन्तरक्रिया गर्ने जनाइएको छ।
उद्यम एवम् व्यावसायिक सुरुवात र उद्यमशीलताका विषयमा डाक्टर अनकल अनलाइनका सञ्चालक डा. सुयश कार्की र नेपाली उत्पादनको प्रवद्र्धनमा सक्रिय पूर्वमिसनेपाल अनुष्का श्रेष्ठले अन्तरक्रिया गर्नेछन्।
यस्तै, सामाजिक सञ्जालका विषयमा सन्तोष सिग्देल र उज्ज्वल आचार्य, राष्ट्र निर्माणमा युवाको भूमिका विषयमा माधव ढुंगेल, महेश दाहाल र सुरेन्द्र बस्नेतले युवामाझ आ–आफ्ना प्रस्तुति र अन्तरक्रिया गर्ने जनाइएको छ। |
सरकारी कार्यालयका सामाजिक सञ्जाल अद्यावधिक गर्न निर्देशन काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विद्युतीय सुशासन कायमका लागि सबै सरकारी कार्यालयको सामाजिक सञ्जालको खाता नियमित सञ्चालनको सुनिश्चित गर्न निर्देशन दिएको छ।
कार्यालयका शाखा अधिकृत ज्योति पौडेलले बुधबार विज्ञप्ति जारी गर्दै सबै सरकारी कार्यालयमा सामाजिक सञ्जालका माध्यमबाट सूचना, जानकारी सार्वजनिक गर्ने तथा नागरिकका गुनासा सम्बोधन गर्ने राज्यको नीति अनुरूप त्यस निकाय र मातहत कार्यालयले सञ्चालन गरेका खाताहरूको प्रयोगबारे सुनिश्चित हुनुपर्ने उल्लेख गरेका छन् ।
विद्युतीय कार्य सञ्चालनको चुस्ताताबारे सात दिनभित्र कार्यालयको इमेल वा हेलो सरकारको ट्विटमा जानकारी गराउन कार्यालयले अनुरोध गरेको छ। |
प्रधानमन्त्रीद्वारा दैलेखको ग्यास उत्खनन क्षेत्रको निरीक्षण काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दैलेखको शीरस्थानमा अवस्थित प्राकृतिक ग्यास उत्खनन क्षेत्रको अनुगमन तथा निरीक्षण गरेका छन् । अवलोकन र निरीक्षणका क्रममा प्रधानमन्त्रीले ग्यास उत्खनन र यससँग सम्बन्धित विषयको जानकारीसमेत लिएका थिए ।
निरीक्षणअघि प्रधानमन्त्री दाहालले दैलेखको दुल्लुस्थित दहगाउँमा आयोजित कार्यक्रमलाई सम्बोधन गरेका थिए । दाहाल, लम्साल, रूपाखेती, कुँवर र राणा वंशका कुल शिरोमणि दाशुको सालिक अनावरण तथा गुरूयोजना सार्वजनिक कार्यक्रमलाई प्रधानमन्त्रीले सम्बोधन गरेका हुन् । |
अर्थतन्त्रलाई गति दिन लागिपरेको छु : प्रधानमन्त्री दाहाल दैलख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अर्थतन्त्रलाई गति दिनुपर्छ भनेर आफू लागिपरेको बताएका छन् ।
कुल शिरोमणि दासु स्मृति तथा अनुसन्धान प्रतिष्ठानले दाहाल बन्धुको उद्गमस्थल दुल्लुको दहमा आज आयोजना गरेको कार्यक्रममा उनले सुशासन कायम गर्न र भ्रष्टाचार हुन नदिन आफ्नो ध्यान केन्द्रित भएको बताए ।
आफ्नो भारत भ्रमण मुलुकको आर्थिक सम्मुन्नतिका लागि सफल भएको उनको भनाइ छ । प्रधानमन्त्री दाहालले १० वर्षमा १० हजार मेगावाट विद्युत् खरिद गर्ने भारतको योजनाबाट नेपालले लाभ लिने बताए ।
दैलेख विभिन्न जातजातिको ऐतिहासिक थलो भएको उल्लेख गर्दै उनले दैलेखमा धेरै जातजातिका पुर्खाको बसोबास रहेको इतिहास पाइएको बताए । प्रधानमन्त्री दाहालले यहाँको आर्थिक, सामाजिक, शैक्षिक विकास गर्नसके विश्व मानचित्रमा दैलेखको पहिचान देखिने बताए ।
आफूलाई सानोमा दाहाल बन्धुको पुर्खाहरू दैलेखबाट आएको भन्दा कौतुहल लाग्ने गरेको उनले स्मरण गरे । “दाहालहरूको उद्गम थलो पश्चिमको दैलेख भन्ने गर्थे, त्यतिबेला मलाई कौतुहल लाग्थ्यो, अहिले पुर्खाको थलोमा आइपुग्दा मलाई गर्व लागेको छ”, उनले भने ।
उनले भाइबन्धुको एकतासँगै सिङ्गो राष्ट्रको एकता गर्ने आफ्नो पहिल्यैदेखिको सपना भएको बताए । सो अवसरमा प्रधानमन्त्री दाहालले दासुको पहिलो सालिक अनावरण गरेका थिए । रासस |
किर्ते कागजातका आधारमा नागरिकता बनाउन खोज्ने दुई जना पक्राउ पाँचथर । किर्ते कागजात पेस गरी नागरिकता बनाउन खोजेको अभियोगमा पाँचथर प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा फाल्गुनन्द गाउँपालिका–१ नवमीडाँडा घर भएका ६४ वर्षीय गंगाप्रसाद आङदेम्बे र भारत आसम निवासी उनका २२ वर्षीय भतिजा सुमित आङदेम्बे छन् ।
गंगाप्रसाद र सुमितले यसअघि पनि पटक-पटक नागरिकता बनाउने प्रयास गरेकोमा पछिल्लो पटक जेठ ३० गते जिल्ला प्रशासन कार्यालय पाँचथर आएका बखत उनीहरूले ल्याएका कागजात जाँच गर्दा सुमित भारतीय नागरिक भएको खुलेपछि पक्राउ गरिएको पाँचथरका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मगरातीलेब ताए ।
पक्राउ परेका दुवैलाई प्रहरीले बुधबार पाँचथर अदालतमा म्याद थप गरेर अनुसन्धान प्रक्रिया सुरु गरेको छ । अनुसन्धानले गंगाकी श्रीमतीको पहिलो विवाह भारतीयसँग भएको थियो । गंगासँग दोस्रो विवाह गरेर आएपछि गंगाले प्रक्रिया पुर्याएर अंगीकृत नागरिकता बनाइदिएका थिए ।
सुमितले भारतबाटै नागरिकता लिनका साथै मतदाताले परिचयपत्र पनि बनाएको प्रमाण भेटिएको प्रशासन स्रोतले जनाएको छ । |
धमाधम हटाइदै मदिरा तथा सुर्तीजन्य पदार्थको प्रचारप्रसारका सामग्री लम्की। कैलालीको विभिन्न ठाउँमा राखिएका मदिरा तथा सुर्तीजन्य पदार्थको प्रचारप्रसारका सामग्री धमाधम हटाउन थालिएका छन्। सुदूरपश्चिम प्रदेश प्रादेशिक स्वास्थ्य प्रवद्र्धन केन्द्र, कञ्चनपुरले जिल्लाको लम्की, चिसापानी, टीकापुर, बौनिया, सुखड्, साढेपानी, धनगढी, अत्तरियालगायत बजारमा राखिएका प्रचार सामग्री धमाधम हटाउन थालेको हो।
स्वास्थ्यको दृष्टिकोणले प्रतिकूल मानिएका मदिरा तथा सुर्तीजन्य पदार्थको प्रचारप्रसार गर्ने रोक लगाउँदै सार्वजनिक स्थान, चोक चौराहा, होटल, पूर्वपश्चिम राजमार्ग छेउमा राखिएका प्रचार सामग्री हटाउन थालेको केन्द्रका प्रमुख हेमराज खड्काले जानकारी दिएका छन्।
उनले भने, “हामीले धनगढीबाट सुरु गरेको अभियान जिल्लाका मुख्य मुख्य सहर तथा पूर्वपश्चिम राजमार्गमा राखिएका प्रचार बोर्डहरू हटाउन कर्मचारीको टोली नै परिचालन गरेका छौँ, त्यस्ता सामग्रीको प्रचारप्रसार गर्न नपाइने कानुनी व्यवस्था लागू गर्न आमनागरिकलाई सचेतसमेत गराउँदै आएका छौँ।”
कर्मचारीको टोली नै खटाएर बजारका विभिन्न चोक, चौराहा, पसल, होटल तथा सार्वजनिक स्थानमा त्यस्ता सामग्री हटाउँदै मदिरा तथा सुर्तीजन्य पदार्थको प्रचारप्रसार गरे हुने कानुनी कारबाहीका बारेमा सचेत गराइरहेको केन्द्रका प्रमुख खड्काले बताए।
टोलीले लम्कीमा ३०, चिसपानीमा ७०, टीकापुरमा ५० गरी अहिलेसम्म जिल्लामा दुई सय बढी होटल, चोक तथा चौराहाबाट त्यस्ता सामग्री हटाएको स्वास्थ्य प्रवद्ध्र्रन केन्द्र कञ्चनपुरका सूचना अधिकृत लालप्रसाद न्यौपानेले बताए।
उनले भने, “पहिलो पटक त्यस्ता सामग्री राखेको पसल, होटल सञ्चालकलाई सम्झाई बुझाई गर्छौं। केही जनाले आफैँ पनि बोर्ड हटाउनु भएको छ। केहीले अटरी पनि गर्ने गरेका छन्। तर स्थानीय जनप्रतिनिधि र प्रशासनको सहयोगमा हटाउने गरेका छौँ।”
अव्यवस्थित रुपमा बजारको सौन्दर्य नै कुरुप देखिने गरी लगाइएका होडिङ बोर्ड हटाउन थालेपछि चिसापानीका टेकबहादुर शाही खुसी भएका छन्। सुर्तीजन्य पदार्थ नियन्त्रणसम्बन्धी ऐन २०६८, जनस्वास्थ्य ऐन २०७५, प्रदेश जनस्वास्थ्य ऐन २०७६, विज्ञापन बोर्डको परिपत्र र सम्मानित सर्वोच्च अदालतको २०७९ फागुन ११ गतेको अन्तरिम आदेशका आधारमा प्रचार सामग्री हटाउन सुरु गरिएको केन्द्रले जनाएको छ।
जिल्ला प्रशासन कार्यालय कैलालीले २०७९ साल चैत ४ गते जिल्लाका विभिन्न स्थानमा राखिएका प्रचार सामग्री हटाउन सम्बन्धित निकायलाई निर्देशन दिएको थियो। – रासस |
हराउँदै मौलिक घर : जस्तापाताले विस्थापित गर्दै ढुंगा र खर ढोरपाटन। रातोमाटो र सेतो कमिरोले पोतिएका घर। कतै ढुंगाले बान्की मिलाएर छाएको छानो त कतै सलक्क खरले छाइएका घर। ढुंगाकै गारो र काठले टमक्क मिलाइका घरले गाउँको पहिचान दिलाउँथ्यो। अहिले त्यस्ता मौलिकता बोकेका घर बजारमा त छैनन् नै गाउँमा पनि कम भेटिन्छन्। अझ घरका झ्यालढोकामा कलात्मक शैलीमा बनाइएका आकृति तथा मूर्ति त भेटिनै छाडिसके।
पछिल्लो समय प्रविधिको विकासका कारण मौलिक घर लोप हुँदै गए भने आधुनिक घर धमाधम बनिरहेका छन्। बागलुङका अधिकांश गाउँमा ढुंगा, काठ र माटोका घर छन्। एक दशक अगाडिसम्म गाउँका धेरै घर खरका थिए। अहिले खरका घर भेट्टाउनै मुस्किल पर्छ।
जिल्लाका स्थानीय पालिकाले पनि खरका घर विस्थापित गरी जस्तापाताका छानो हाल्ने नीति ल्याएपछि गाउँका मौलिक घर ओझेलमा परेका छन्। ढोरपाटन नगरपालिका–९ बोबाङमा दुई दशक अगाडिसम्म ढुङ्गाको पर्खाल र काठका फल्याकले छाएका घर मात्रै थिए। ती घर एउटा पनि अहिले भेट्टाउन सकिन्न । काठ र ढुंगाबाट बनेका घर विस्थापित बनेपछि बिस्तारै ढुङ्गा र खरका घर बने।
अहिले ती ढुंगा र काठका घर पनि विस्थापित हुँदै गएका छन्। अहिले बोबाङ गाउँमा जस्तापातले छाएका घरले गाउँ नै ढाकिन थालेका छन्। जस्तापाताका घर बनाउन स्थानीयवासीलाई सहज भए पनि गाउँको सुन्दरतामा भने धेरै प्रभाव पारिरहेको छ।
बोबाङ गाउँसँगै निसीखोलाको निसी गाउँ, तमानखोलाको तमान गाउँ, बोङ्गादोभान तथा जिल्लाका अधिकांश गाउँमा अहिले धमाधम जस्तापातले छाइएका घर निर्माण भएका छन्। पहिले टाढैबाट चिटिक्क देखिने खर र ढुङ्गाले छाएका घर अहिले जस्तापाता तथा कङ्क्रिटबाट बनेका घरमा परिणत भइरहेका छन्।
मौलिक ढुंगा तथा खरका घर बनाउन बढी झन्झटिलो र खर्चिलो हुने हुँदा पछिल्लो समय स्थानीयले जस्तापाताका घर बनाउन थालेको ढोरपाटन–८ बोबाङका कुशल विश्वकर्माले बताए। उनले १५/२० वर्ष अगाडिको तुलनामा अहिले घरको बनावट तथा निर्माण गर्ने शैलीमा निकै परिवर्तन आएको बताए।
“अहिले गाउँ र बजारका घरमा धेरै फकर पाइँदैन, गाउँमा पनि बजारकै शैलीमा घर बन्न थाले, सबै आधुनिकतासँग जोडिएका छन्, मौलिकता बोकेका घर बिस्तारै हराउँदै गए, मान्छे विदेश तथा सहर बजार जान थाले, विदेश र सहर बजारमा बनेका जस्तै घर गाउँमा बनाउन थाले”, विश्वकर्माले भने, “पहिले त यहाँ काठैकाठका घर थिए, पछि ढुंगा, घर र काठका घर बने, अहिले धेरैले टिन (जस्तापाता) ले छाउन थाले, अलि हुने खानेले ठूला सिमेन्टकै घर बनाउन थाले, यसले गाउँ नै आधुनिकीकण भयो, मौलिक संस्कृति र परम्परा हराउन थाले, अब पालिकाहरुले गाउँका सबै घर मौलिकतासँग जोडेर बनाउनुपर्ने नीति ल्याउनुपर्छ।”
निसीखोलाका ७९ वर्षीय तीर्थबहादुर पुनले अहिले बन्ने घरले गाउँको स्वरुप नै बदलिदिएको बताए। पहिले गाउँमा बन्ने घर सबै एउटै खाले हुने गरेको जनाउँदै अहिले बन्ने घरका रङ्ग तथा आकार फरक–फरक हुँदा गाउँको सुन्दरतामा ह्रास आएको गुनासो गरे।
मौलिक कला संस्कृतिमा बजारभन्दा गाउँ निकै अब्बल रहेको सुनाउँदै मान्छेहरुले बजारको नक्कल गरी घर पनि त्यस्तै बनाउन थालेको उनी बताउँछन्। संस्कृति संरक्षणका लागि घर नयाँ बनाए पनि पुरानै शैलीमा नवीन प्रविधि अपनाउनुपर्ने उनको भनाइ छ।
उनी भन्छन्, “अहिले यहाँ बनेका घर स्वास्थ्यका लागि फाइदाजनक छैनन्, सिमेन्ट बालुवाले बनेका छन्, टिनले छाएका छन्, हिउँदमा चिसोले मान्छेलाई रोगी बनाउँछ, पहिले–पहिलेका घर सबै मौसमका लागि उपयुक्त हुन्थे, हिउँदमा न्यानो हुने, गर्मीमा शीतल हुने खालका हुन्थे, अहिले गाउँ हेर्नु हुन्छ भने खरका घर कतै भेटाउनु हुन्न, घुमाउने घर पनि पहिले गाउँमा बाक्लै थिए, अहिले कतै देख्नुहुन्छ ?, किन हराए ?, यो सब अरूको देखासिकीले गर्दा हो, गाउँमा कसैले टिनले छाएको घर बनाउँछ भने भोलि अर्कोले त्यस्तै घर बनाउँछ, पुरानो घरलाई पहिलेकै जस्तो बनाउनुपर्छ भन्ने कसैलाई लाग्दैन।”
गाउँका पुराना घरलाई संरक्षण गरिराख्न सके केही वर्ष पनि पर्यटकका लागि आकर्षणको केन्द्र बन्न सक्ने पुन बताउँछन्। उनले खास गरी खरको घर विस्थापित हुनाका कारण यो बनाउन धेरै समय लाग्ने, आगलागीको जोखिम हुने र अहिले कसैले पनि वनमा गएर खर काटेर ल्याउन झन्झट मान्ने हुँदा जस्तापाताले छाएका घर बढ्दै गएको बताए।
बागलुङका धेरै पालिकाले खरको छानोमुक्त गाउँ अभियानलाई तीव्रता दिएका छन्। तमानखोला गाउँपालिकाले भने मौलिक घर संरक्षण गर्न थालेको छ। सो गाउँपालिकाले पुराना मौलिक घरको संरक्षण गरी नयाँ बन्ने घर पनि पुरानै शैलीमा निर्माण गर्ने नीति बनाएको छ।
गाउँपालिकाले सबै घरलाई एउटै रंग, एउटै शैली र एउटै आकार प्रकारको बनाउने अध्यक्ष जोकलाल बुढा मगरले बताए। गाउँमा अब कसैले पनि कङ्क्रिटका भवन बनाउन नपाउने उनको भनाइ छ। आधुनिक प्रविधिको बढ्दो विकास र प्रयोगले ग्रामीण जीवनशैली, यहाँको संस्कार संस्कृति, सौन्दर्य र गाउँको वास्तविक महत्व हराउँदै गएपछि गाउँपालिकाले घरलाई पुरानै स्वरुपमा संरक्षण गर्न थालेको उनले बताए।
“गाउँमा बन्ने घर गाउँकै स्रोत र साधनको प्रयोग गरी बनाउनु पर्छ, यहाँ यति धेरै स्रोत साधन छन्, तर हामीहरुले आयातित सामानको प्रयोग गरेर घर, भवन बनाइरहेका छौँ, गाउँमा पनि सिमेन्टका ठूला–ठूला घर, भवन बन्न थाले, यसलाई रोक्नका लागि गाउँपालिकाले स्थानीय स्तरमा भएका स्रोत साधनलाई प्रयोग गरेर गाउँका घरलाई मौलिक घर बनाउने योजना बनाएका छौँ”, अध्यक्ष बुढा मगरले भने, “अहिले संस्कृति संरक्षण गर्न लागिएन भने पछिको पुस्ताले गर्दैनन्, संस्कृति नै मासिँदै जाने खतरा बढेको हुँदा यसलाई रोक्न हामी लागेका छौँ।” |
कैलाली जिल्ला कारागार भित्रै लागुऔषधको कारोबार (भिडियाे) काठमाडौं। कैलालीस्थित जिल्ला कारागारमा लागुऔषधको सेवन, कारोवार, कुटाकुट भएको भिडियो बाहिरिएको छ।
जेठ २२ गतेका दिन कैदीबन्दीहरुसहित कारागारका कर्मचारीबीच कुटाकुट भएको, लागुऔषध सेवन गरिएको र मदिरा बिक्री वितरण गरिएको तास खेलिएको जस्ता अनैतिक गतिविधि भएको भिडियो सार्वजनिक भएको छ।
कारागार स्रोतका अनुसार लम्कीका भुपेन्द्र बडुवालको हत्या प्रकरणमा कैद भुक्तान गरिरहेका कैदीहरु र चौकीदारहरुबीच कुटाकुट भएको थियो भने उनीहरुले नै कारागारभित्रै रक्सी सेवन गरेको, तास खेलेको मदिरा सेवन गरेका थिए।
सो भिडियो सार्वजनिक भएपछि अहिले डिउटीमा खटिएका नेपाल प्रहरीका नायव प्रहरी नीरिक्षक (सइ) चरन बूढाथाकी, असई योगेन्द्र बोहराको सरुवा भैसकेको छ।
प्रहरी स्रोतका अनुसार भूपेन्द्र हत्या काण्डका कैदीहरुको कुटपीटमा परी कारागारका आउटडोर चौकीदार सन्तोषकुमार शाही र खगेन्द्र बम लगायतका केही कैदीहरु पनि घाइते भएका थिए।
सो काण्डपछि केही दिन अघि १६ जना कैदी र केही कर्मचारीलाई जेलबाट सरुवा गरिएको छ। उनीहरुलाई भैरहवा, नेपालगन्ज र नवलपरासी लगायतका जिल्लाका कारागारमा सारिएको हो। तर भुपेन्द्र हत्याकाण्डका अभियुक्तहरु भने कैलाली कारागारमै छन्।
उनीहरुले कारागारभित्रै दादागिरी गर्ने र गुन्डागर्दी गर्ने गरेको बताइन्छ। भुपेन्द्र बडुवाल हत्याकाण्डमा १० जना पुर्पक्षका लागि थुनामा छन्। कैलाली लम्कीका युवक बडुवालको केही वर्षअघि टीकापुरमा लखेटी-लखेटी धारिलो हतियार प्रहार गरी हत्या भएको थियो।
कारागार स्रोतका अनुसार, बडुवाल हत्या अभियोगमा पुर्पक्षका लागि जेल चलान भएका नवीन रावल, अशोक रावल, महेश रावल, विकास शेरचन, विकास खड्कासहितको समूहले जेलर पदम तिमल्सेनालाई प्रभावमा पारेर त्यहाँ रहेका अन्य कैदीमाथि आक्रमण गर्ने र रक्सी र गाजा खाने गरेको स्रोतको दावी छ।
कारागारभित्र १०० रुपैयाँमा एक खिल्ली चुरोट, १ बोतल रक्सी ५ देखि १० हजारसम्म र एक खिल्ली गाँजा १०० रुपैयाँमा किनबेच हुने गरेको स्रोतले जनाएको छ। कैलाली कारागारको विभिन्न भवनमा १५ भन्दा बढी फोन सेट पनि राखिएका छन्।
तर नाइके र आउटडोर कैदीबन्दीको संरक्षणमा मोबाइल भित्र छिराइएको पनि बताइन्छ। कारागारभित्र रक्सी, चुरोट, गााँजा जस्ता अम्बलजन्य पदार्थ सेवन गर्न पाइँदैन।
जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले केही दिन अघि सामान्य झगडा भएको र त्यहाँका केही कैदीलाई अर्को कारागारमा सारिएको जानकारी दिए।
‘सामान्य झडप भएको रहेछ त्यहाँका केही सुरक्षाकर्मीलाई फिर्ता पठाइएको ल्याइएको छ र केही कैदीलाई सरुवा गरिएको छ’, प्रमुख जिल्ला अधिकारी कट्टेलले भने। |
मादी गाउँपालिकाले घोडा किन्नका लागि अनुदान दिने कास्की। कास्कीको मादी गाउँपालिकाले पयर्टन प्रवर्धनका लागि घोडा खरिद गर्न अनुदान दिने भएको छ ।
हिमाली भेगमा घुम्न जाने पर्यटकको सहजताका लागि घोडा खरिदमा अनुदान दिन लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीेले जानकारी दिए।
“अहिले दररेट माग गर्ने काम भइरहेको छ । हुम्ला, जुम्ला, मनाङ र मुस्ताङका व्यावसायीले दररेट हाल्नुहोला, त्यसपछि लागत साझेदारीका आधारमा पर्यटन व्यवसायीले आधा मूल्य तीर्नेगरी घोडा खरिद गर्न दिने हो”, उनले भने।
यस गाउँपालिकाको विशेषगरी वडा–१ र २ को हिमाली भेगमा पयर्टक पुगेपनि अहिलेसम्म मोटर बाटो नपुगेकाले घुम्नका लागि घोडा उपयुक्त रहेको मादी–१ का वडाध्यक्ष देवीजङ्ग गुरुङले बताए।
“यहाँको सिक्लेस, ताङ्तिङ्, क्हपुचे ताल, कोरी, क्रपुडाँडा पुग्ने पर्यटकलाई हिड्न समस्या हुन्छ । हाम्रो वडामा गाडी पुग्न बाँकी धेरै पर्यटकीय क्षेत्र छन्”, उनले भने, “बाटोको अभाबमा हिड्न नसक्ने पर्यटकले दुःख पाइरहेका छन् । उनीहरूका लागि घोडा खरिद गर्न सकियो भने राम्रो हुन्छ ।”
घोडा खरिद गर्न इच्छुक वडाभित्रका पर्यटन व्यवसायीलाई वडा कार्यालयमा सम्पर्क गर्न सूचना गरिएको छ । |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.