content
stringlengths
20
64.1k
गड्यौलाको मल उत्पादन गरेर मनग्य आम्दानी दोधारा चाँदनी। कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामका माया जोशीले गड्यौलाको मल उत्पादन गरेर मनग्य आम्दानी गर्दै आएकी छन्। गड्यौला मलबाट थोरै लगानीमा मनग्य आम्दानी गर्न सकिने थाहा पाएपछि उनले कञ्चनपुरको कृष्णपुर नगरपालिकास्थित बाणीबाट गड्यौला ल्याएर मल उत्पादनमा लागेकी हुन्। “दुई वर्षअघि बैंकबाट रु पाँच लाख ऋण लिएर गड्यौला मल उत्पादन र बाख्रापालन सुरु गरेकी थिएँ”, उनले भनिन्, “अहिले गड्यौला मलको माग धेरै बढेको छ, माग धान्नै सकस छ।” जोशीले अहिले मल बिक्रीबाटै आत्मनिर्भर भएको बताइन्। मल उत्पादनका लागि उनले बाख्रापालनसमेत रेकी छन्। रासायनिक मलको विकल्पका रूपमा गड्यौला मलको प्रयोग गर्दा उत्पादन पर्याप्त हुने भएकाले पछिल्लो समय किसानले गड्यौला मल प्रयोग गर्न थालेका छन्। “रासायनिक मलले भन्दा गड्यौला मलले उत्पादन राम्रो हुन्छ ।” उनले भनिन्, “केही समयअघिसम्म यसबारे ज्ञान नभएर प्रयोग गर्न डराउँथे।” पछिल्लो समय केही किसानले धान, गहुँ, उखु र तरकारीखेतीमा गड्यौला मल प्रयोग गरेर हेर्दा उत्पादन राम्रो भएको देखेपछि यसको माग बढेको जोशी बताउँछिन्। “अहिले मलको माग धेरै छ, मागअनुसार उपलब्ध गराउन सकेकी छैन”, उनले भनिन्, “तरकारी र फूलमा प्रयोग गर्नका लागि यो मल बढी लैजाने गरेका छन्।” उनले मल र बाख्राबाट वार्षिक रु पाँच लाखसम्म आम्दानी हुने गरेको बताइन्। गोबर तथा खेतबारीबाट निस्कने कुहिने फोहरबाट मल उत्पादन गर्न सकिने जोशीले बताइन्। “कुहिने फोहरबाट समेत गड्यौला मल उत्पादन गर्न सकिन्छ”, उनले भनिन्, “बेला–बेलामा सिँचाइ गर्नुपर्छ, धेरै मेहनत लाग्दैन।” गड्यौला मलले माटोको उर्वराशक्ति बढाउनुका साथै थोरै लागतमा धेरै उत्पादन गर्न सकिन्छ। यसका साथै मानवीय स्वास्थ्य र वातावरणीय सुधारका लागि पनि गड्यौला मलको प्रयोग गर्नु उपयुक्त हुन्छ। गड्यौला मल प्रतिकिलो रु ३५ का दरले बिक्री हुने गरेको जोशीले बताइन्। उनले भनिन्, “गड्यौला प्रतिकिलो रु तीन हजारका दरले बिक्री हुन्छ।” जोशीले गड्यौला र मल दुवै बिक्री गर्दैआउनु भएको छ। पछिल्लो समय यहाँका अन्य किसानले पनि गड्यौला मलको उत्पादन गर्न थालेका छन्। “यसमा धेरै मेहनत लाग्दैन, एकपटक गड्यौला ल्याएर राखे पुग्छ”, जोशीले भनिन्।
गाउँ रित्तिए, बजार भरिए ढोरपाटन।  एक दशक अगाडिसम्म बागलुङमा धेरै बजार थिएनन्। अधिकांश गाउँमै बस्ने, पशुपालन र कृषि गरेर जीवन निर्वाह गर्थे। उनीहरूमा बजारमोह त्यत्ति थिएन। बजार साना थिए। अहिलेका जस्ता ठूला–ठूला पक्की घर थिएनन्। बजारमा पनि माटो, ढुङ्गा र काठले बनेका घर बढी थिए। स्थानीय तह बनेसँगै गाउँ–गाउँमा मोटरबाटो पुग्न थाल्यो। साना बजार ठूला सहरमा परिणत हुँदै गए। बागलुङ, गलकोट र बुर्तिबाङलाई मुख्य बजारका रूपमा लिइन्थ्यो। पछिल्लो समय बुर्तिबाङ र गलकोट बजार घरैघरले भरिन थालेको छ। ग्रामीण भेगका बासिन्दा सेवा सुविधा खोज्दै तराइ तथा सहरमा बसाइँसराइ गर्ने चलन ह्वात्तै बढेको छ। अहिले दिनप्रतिदिन गाउँ छाडेर बजार झर्नेको लर्को लाग्न थालेको छ। गाउँको कुना कन्दरासम्म सडक पुगे पनि बजारमोह भने उस्तै छ। निसी, कानाबगर, झिवाखोला, जुग्गाखोला, काठेखोलाको भीमगिठे, खार, खौलारा, न्वारा, काठेखोलाको अक्षते, बरेङको बरेङडाँडा, जैमिनीको कुश्मिेरालागयत ठाउँ बजारमा परिणत हुँदैगएका छन्। गाउँमा विकासले गति लिए पनि सहर जाने क्रम रोकिएको छैन्। गाउँ रित्तिँदै तर बजार भरिँदै गएका तमानखोलाका अध्यक्ष जोकलाल बुढामगरले बताए। “अहिले विदेश जाने, पैसा कमाउने र बजार झर्ने लहर चलेको छ”, उनले भने। तमानखोलाबाट बुर्तिबाङ झर्नेको सङ्ख्या बढी छ। योसँगै पोखरा, काठमाडौँ, बुटवललगायत सहर बसाइँसराइ गर्ने अत्यधिक छन्। बसाइँसराइ रोक्न स्थानीयलाई आयआर्जनसँग जोड्नुपर्नेमा बुढामगर बताउँछन्। “बसाइँसराइको मुख्य कारण गाउँमा पर्याप्त विकास र सेवासुविधा नहुनु हो, हुनेखाने सब सहर बजार जान थालेका छन्”, अध्यक्ष बुढामगरले भने। निसीखोलाको झिवाखोला, बडिगाडको खौलारा र गलकोटको हटिया बजार बसाइँसराइ गर्नेको सङ्ख्या बढेको छ। बागलुङमा सबैभन्दा बढी गलकोट बसाइँसराइ रहेका गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारी बताउँछन्। उनी भन्छन्, “गाउँमा विकास भइरहेकै छ, तर पनि बसाइँसराइ कम भएको छैन्।” गाउँमा युवा भेट्टाउनै मुस्किल पर्छ। गाउँका घर जीर्ण बन्दै गएका छन्। घर र खेतीयोग्य जमिन प्रयोग गर्नेको सङ्ख्या घट्दै गएको गलकोट–७ का विष्णु थापाले बताए। बसाइँसराइले गाउँ रित्तिदा उत्पादनमा कमी आएको छ। धान, गहुँ, मकै र सागसब्जी फल्ने बारी बाँझिएका छन्। गाउँ उराठ बन्दै गएका छन्। – रासस
आजको मौसम: गण्डकी र बागमतीका पहाडी भू-भागमा वर्षाकाे संभावना काठमाडौं। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा देशका बाँकी पहाडी भू-भागमा आंशिक बदली रही अन्य स्थानहरूमा मौसम सामान्यतया सफा रहनेछ। राति भने बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहनुका साथै देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता महाशाखाले अनुरोध गरेको छ।
परिवारको सहारा बन्दै बालबालिका बझाङ। जयपृथ्वी नगरपालिका– ३ पडेसका रोशन विष्ट भैरवनाथ आधारभूत विद्यालयमा पढ्छन्। पाँच कक्षामा पढ्ने उनी बिदाको दिनमा जहिल्यै पुङर लेकमा पुग्छन्। दोघरी (दुईवटा घर भएको) विष्ट परिवारको अधिकांश समय पुङरमै बस्ने हो। खेतीपाती, वस्तुभाउ, नजिकै जङ्गल भएका कारण विष्ट परिवारको अघिल्लै पुस्ताको रोजाइमा परेको क्षेत्र पनि हो पुङर। लामो समयदेखि पानीको समस्यामा परेका पुङरवासीले अहिले भने त्यसबाट पनि मुक्ति पाएका छन्। सय÷सय मिटरको अन्तरमा निर्माण भएका खानेपानीका धाराले सामान्यतया आँगनका बारीमा सिँचाई गर्नसमेत राहत मिलेको छ। खेतबारी सिँचाइका लागि अहिले पुङर लेकमा पक्की नहर निर्माणको काम भइरहेको छ। नहरमा ज्यालादारी काम गर्न हरेक परिवारको सक्दो उपस्थिति उत्तिकै छ। परिवारमा कम सदस्य हुनेलाई बालबालिकाले सहयोग गरिरहेका छन्। विद्यालय बिदाको दिनमा कहिले बालबालिका त कहिले अभिभावक श्रममा जाने गरेको स्थानीयवासी विनोद विष्टले बताए। उनका अनुसार गाउँमा केही योजना आएको बेलामा घर खर्च निकाल्न सजिलो हुने भन्दै बालबालिकाको बिदाको समय कुर्नुपर्छ। “घरमा कम सदस्य हुनेले त वस्तुभाउलाई पानी खुवाउने मान्छे पनि पाउँदैनन्। त्यसो हुँदा काम गर्न सकिँदैन”, उनी भन्छन्। बालबालिकाको बिदाको दिनमा भने घरको काममा बाधा नहुने उनी बताउँछन्। गएको शनिबार पनि तीन\चार जना बालबालिका घर नजिकै गिट्टी कुटिरहेका थिए। बिदाको दिनमा वस्तुभाउलाई घाँस, पानी खुवाउने र बाँकी समय गिट्टी कुट्ने गरेको पाँच कक्षामा अध्ययनरत विपना खड्काले बताइन्। “सधैँ विद्यालयमै हुन्छौँ,” उनले भनिन्, “आजभोलि गाउँमा कुलोको पनि योजना आएको हुँदा घरका सबै त्यतै काम गर्न जानुहुन्छ । बिदाको दिनमा हामी पनि सहयोग गर्छौं।” उनले घरको वस्तुभाउको घाँसपातको काम गरेर बिदाको दिनमा दैनिक एक÷डेढ कट्टा गिट्टी फुटाउने गरेको बताइन्। विपनाले बिदाकै दिनमा काम गरेर यसै महिना रु एक हजार एक सय जम्मा गरेको सुनाइन्। “एक कट्टा गिट्टीको एक सय रूपैयाँ पर्छ। मैले त एक दिन दुई कट्टा पनि बनाएकी छु।” विद्यालय खुलेको समय पढ्ने र बाँकी समय घरायसी काममा सहयोग गर्ने गरेको उनले बताइन्। भैरवनाथमा ४ कक्षामा अध्ययनरत रोहन विष्ट पनि घरमा खाली बस्नुभन्दा छिमेकी दिदीसँगै गिट्टी कुट्न आएको बताउँछन्। “नहरको काम गर्न आमा जानुहुन्छ। म गाईवस्तुलाई घाँस पानी दिएर गिट्टी कुट्न आएको हुँ।” गिट्टी कुटेको पैसाले घरमा नुन÷तेल, आफ्नो कापी कलम किन्ने गरेको उनले बताए। नहरमा मात्रै होइन, हरेक कामका लागि पनि ठूला मान्छे (उमेर पुगेका) लाई मात्रै लगाइन्छ। रोहन भन्छन्, “हामी सानो मान्छेलाई काम गर्न गए पनि पैसा दिँदैनन्। त्यसैले जाँदैनौँ। बरू एक कट्टा गिट्टी कुटे त्यसको पैसा आउँछ।” नहरमा काम गर्दै गरेका भरत विष्टले पनि परिवारमा बालबालिका हुँदा निकै सहयोग हुने गरेको बताए। “बालबालिकालाई श्रम सिकाउन पनि काममा लगाउनैपर्छ। चाहे त्यसले जति ठूलो सानो काम गरोस्। नत्र उसले केही सिक्दैन”, उनी भन्छन्। भरतका अनुसार बालबालिकालाई विद्यालयको समयमा छुटाउने होइन। “गृहकार्यमा पनि आफूले सघाउने हो। बाँकी समय भने घरायसी काम सिकाउँदा राम्रो हुन्छ।” बालबालिकामै सिकाए मात्रै पछि काम लाग्ने उनले बताए। “बालबालिकालाई श्रम, श्रमको महत्त्व, पारिवारिक स्थिति, भविष्यमा आइपर्ने हरेक समस्याको बारेमा जानकारी दिइरहनुपर्छ”, भरत भन्छन्, “अहिले कतिपय युवायुवतीलाई नै सामान्य घरायसी काम गर्न आउँदैन। खाना पकाउन आउँदैन। पानी पँधेराको काम आउँदैन। हाम्रा बालबालिकाहरूले त अहिले नै सिकिसके।” भरतले बालबालिकाको भविष्यमा जति बेलामा पनि काम लाग्ने, आफूलाई पनि सहयोग मिल्ने भन्दै श्रम सिकाएको बताए। “भोलि सबैले सरकारी जागिर खान्छन् भन्ने पनि हुँदैन, सबैलाई पुग्ने हाम्रो देशमा जागिर पनि छैन”, उनले भने, “त्यसैले जुनसुकै सीप सिकाउँदा पनि काम लाग्छ। भोलि उसले गरोस् या नगरोस्। आइपरेमा गरेर खान सक्छ। भोको बस्नु त पर्दैन। काम जे सिके पनि खण (खेर) जाँदैन।” – भूमिराज पिठातोली\रासस
विदेशमा अलपत्र परेकाका लागि सहयोगी बन्दै सामी कार्यक्रम देउखुरी। घोराही उपमहानगरपालिका–१५ की अनिसा घर्ती १३ वर्षअघि दुवई पुगिन्। काम ठिकै थियो। कमाइले घरपरिवार धानेकै थियो। अघिल्लो वर्ष बिहान काम गर्न जाने बेलामा उनी दुर्घटनामा परेपछि उपचारका लागि एक वर्षसम्म अस्पतालको शैयामा बिताउनुपर्‍यो। त्यो बेलामा अनिसालाई स्वदेश फर्किन मन लागे पनि फर्किन वातावरण सहज भएन। उक्त घटनाबारे परिवारले जानकारी पाएकाले नेपाल ल्याउन पहल गरे पनि सकेनन्। अन्ततः वैदेशिक रोजगार बोर्डअन्तर्गत सुरक्षित आप्रवासन (सामी) कार्यक्रममार्फत उनलाई घरसम्म ल्याउने वातावरण बनाइएपपछि केही महिना अघि मात्रै अनिसा घर फर्किन सकिन्। वैदेशिक रोजगारीका क्रममा अनेक समस्या झेल्न बाध्य भएकाको उद्धारका लागि उक्त कार्यक्रमले निरन्तर पहल गर्दै आएको छ। विदेशमा अलपत्र परेका, मृत्यु भएका, बेसाहारा भएकालगायत विभिन्न समस्यामा परेका नेपालीलाई सामीले घरसम्म ल्याउन पैरवी गर्दै आएकाले श्रम बेच्न गएकाले राहत महसुस गर्न थालेका छन्। विदेशबाट कमाएर पठाएको रकमको सही उपयोग गराउन, उनीहरुको परिवारका सदस्यलाई उद्यमशीलता तथा मनोसामाजिक परामर्शका लागि पनि सामीले भूमिका निर्वाह गर्दै आएको छ। सामी कार्यक्रममार्फत २०७५ असारदेखि २०७९ को तेस्रो चरणसम्म आप्रवासी स्रोत केन्द्रमा दर्ता भएका पाँच सय पाँच घटनामध्ये तीन सय ९८ वटा समाधान भएको ७३ वटा प्रक्रियामा रहेको र बाँकी ३४ वटा समाधान हुन नसकेका छन्। न्यायमा पहुँच पुर्‍याउने लक्ष्यका साथ गरिएको निःशुल्क कानुनी सहायताबाट रु सात करोड एकासी लाख ९९ हजार पाँच सय ४१ सहायता उपलब्ध गराउन सफल भइएको वैदेशिक रोजगार बोर्डका दाङ जिल्ला कार्यक्रम अधिकृत विष्णु अर्यालले जानकारी गराए। घोराही, तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका र बबई गाउँपालिकाको सहकार्यमा उक्त कार्यक्रममा सञ्चालन भइरहेको छ। यो वर्षमा मात्रै निःशुल्क कानुनी सहयतामार्फत रु एक करोड ८३ लाख आर्थिक सहायता उपलब्ध गराउन सफल भइएकामा ठगीमा एक सय सात, मृत्यु भएकाका बीस, कारागारमा परेका दस, स्वास्थ्य समस्या भएका आठ, हराएका १५, अलपत्र परेका तीन र अन्य सात गरी एक सय ७० वटा समस्या निःशुल्क कानुनी सहायताका लागि निवेदन दर्ता भएका थिए। सो अवधिमा मात्रै आप्रवासी स्रोत केन्द्रमा एक सय ७० वटा उजुरी दर्ता भएकामा ६० वटाको समाधान भएको र एक सय १० वटा प्रक्रियामा रहेको सामी कार्यक्रमले जनाएको छ। दाङ जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख वीरबहादुर वलीले वैदेशिक रोजगारमा जाने नेपाली ठगिने क्रम नरोकिएकाले यसलाई रोक्न प्रहरीसँगै सरोकारवाला निकाय सबैको सहयोग आवश्यक रहेको बताए। यसैगरी वैदेशिक रोजगारका क्रममा हुने मानव बेचबिखन तथा ठगी निवारण गर्न समुदाय प्रहरी साझेदारी कार्यक्रममार्फत जिल्लाभर सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आइएको, वैदेशिक रोजगारको क्रममा हुने ठगी, मानव बेचबिखनजस्ता कार्यबाट आम सर्वसाधारणलाई सुरक्षित राख्न स्थानीय रेडियो तथा पत्रपत्रिकामा जानकारीमूलक सन्देश प्रसारण तथा प्रकाशित गर्ने गरिएको उनले जानकारी दिए। वैदेशिक रोजगारका क्रममा हुने मानव बेचबिखन निवारणका लागि आपसमा प्रभावकारी समन्वय र सहकार्य गर्दै प्रचलित कानुनको परिधिभित्र रही सूचना आदानप्रदान गर्ने, वैदेशिक रोजगारीको क्रममा मानव बेचबिखनका जोखिमका क्षेत्र पहिल्याई सोको निवारणका लागि आफ्ना कर्मचारीलाई सक्षम गराउँदै आवश्यकताअनुसार परिचालन गर्ने, रोजगारीका क्रममा मानव बेचविखनका जोखिम कम गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट सूचना तथा स्रोत परिचालन गर्ने, आ–आफ्नो क्षेत्राधिकारका विषय सूक्ष्म रूपमा अध्ययन हुने गरेको प्रहरीको भनाइ थियो। प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले रोजगारका लागि विदेश जाने कुनै पनि कामदारलाई एजेण्टमार्फत भन्दा पनि आफै जाने देश तथा कामका बारेमा बुझेर जानुपर्ने र सीप अनिवार्य सिक्नुपर्ने बताए। आफू जान चाहेको देश र त्यहाँ पुगेर गर्ने कामका बारेमा यकिन नगरी हचुवाको भरमा वैदेशिक रोजगारीमा जाँदा अनेक समस्या सिर्जना हुने गरेकाले सामी कार्यक्रमबाट परामर्श लिन आग्रह गरे। ् घोराही उपमहानगरका उपप्रमुख हुमा डिसीले वैदेशिक रोजगारका क्रममा ठगिने क्रम बढ्दै गएकाले यसलाई नियन्त्रण गर्न लागि तल्लो तहबाटै सबै जुट्न आवश्यक रहेको बताए। वैदेशिक रोजगार विभागले अनुसन्धानका क्रममा जानकारीमा आएका यस्ता घटनाबारे अनुसन्धान गरी कानुनी सहयोगका लागि नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग र मानव बेचविखन अनुसन्धान ब्युरोलाई जानकारी उपलब्ध गराउन आग्रह गरे।
‘बुस्टर डोज’ लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको अतिरिक्त मात्रा (बुस्टर डोज) लगाउन आग्रह गरेको छ। मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले कोभिड–१९ को जोखिम रहेकाले बुस्टर डोज लगाउन आग्रह गरिएको बताए। उनका अनुसार कोभिड–१९ विरुद्धको पूर्ण मात्रा लगाएका तीन महिना पूरा भएका र पहिले बुस्टर मात्रा खोप लगाउन छुटेकालाई बुस्टर मात्रा लगाउन भनिएको छ। पचपन्न वर्षभन्दा माथिका उमेर समूह, स्वास्थ्यकर्मी, गर्भवती, १२ वर्षभन्दा माथिका (दीर्घरोगी, रोग प्रतिरोधात्मक क्षमता कम भएका)लाई पहिलो मात्रा बुस्टर खोप र यसअघि पहिलो बुस्टर मात्रा खोप लगाएको छ महिना पूरा भएकालाई पनि खोप लगाउन भनिएको छ। यस्तै कोभिड–१९ को सङ्क्रमण भएकाले पनि सङ्क्रमण भएको एक महिनापछि बुस्टर डोज लगाउन सक्ने जनाइएको छ। यसअघि स्वास्थ्य कार्यालय काठमाडौँको समन्वयमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेपाल प्रहरी अस्पताल, निजामती कर्मचारी अस्पताल, वीरेन्द्र अस्पताल, सशस्त्र प्रहरी बल अस्पतालबाट बुस्टर डोजको खोप लगाइरहेको छ। जर्मन सरकारले उपलब्ध गराएको बुस्टर डोजका लागि मात्र प्रयोग हुने ‘बाइभ्यालेन्ट’ खोप करिब १५ लाख मात्रा खोप नेपाल आएको छ। मन्त्रालयले नजिकैको स्वास्थ्य संस्थामा बुस्टर डोजको खोप लगाउन जान आग्रह गरेको छ।
२९ हजारले लिए ई-सिम काठमाडौं। नेपालमा ई-सिम (इम्बेडेड सवस्क्राइबर आइडेन्टिटी मोड्युल) प्रयोगकर्ताको सङ्ख्या २९ हजार नाघेको छ। नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले गत भदौ ३१ देखि हालसम्म २९ हजारभन्दा बढी वितरण भइसकेको जानकारी दिए। नेपाल टेलिकमले सुरुमा सुन्धारा काउन्टरबाट ई-सिम वितरण गरेको थियो। साथै गत असोज ४ देखि भने नक्साल, चावहिल, ठिमी, भक्तपुर, पाटन, गोङ्गबु, छाउनी र पुलचोक ग्राहक सेवा केन्द्रबाट वितरण सुरु गरेको थियो भने मङ्सिर ८ देखि भने देशभर ई-सिम उपलब्ध गराइएको हो। “नेपाल टेलिकमका पुराना ग्राहकले ई-सिम लिन चाहेमा निःशुल्क प्राप्त गर्न सक्छन्। पोस्टपेडको नयाँ ई-सिम लिन चाहनेले अहिले बिक्री भइरहेकै मूल्यमा लिन सक्छन्”, प्रवक्ता अधिकारीले भने, “ई-सिममा ग्राहकले आफ्नो उपकरणअनुसार बढीमा २० वटासम्म नेटवर्कमा जोड्न सक्छन्।” तर एकपटक भने एउटा नेटवर्कमा मात्रै जोड्न सकिने उनको भनाइ छ। के हो ई-सिम? ई-सिम इलेक्ट्रिक सिम हो। जुन मोबाइल डिभाइस तथा डिजिटल डिभाइसमै इम्बेड गर्न सकिन्छ। मोबाइल सेटबाहेक ई-सिमलाई अन्य डिभाइस तथा स्मार्ट वाच र शरीरमा पहिरिनयोग्य विभिन्न प्रकारका डिभाइसमा पनि प्रयोग गर्न सकिन्छ। ई-सिम उपलब्ध भएपछि भौतिक रुपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता रहँदैन। ई-सिम प्रयोग गर्न मोबाइल सेटमा ई-सिम इन्स्टल गर्नका लागि क्यूआर कोडमार्फत स्क्यान गर्नुपर्छ। क्यूआर कोडको सुविधा भएका पछिल्लो पुस्ताका मोबाइल सेटमा मात्र ई-सिम प्रयोग गर्न सकिन्छ। सिमकार्डमा प्रयोग हुने स्टोरेज, मेमोरी मोबाइल डिभाइसमा हुन्छ। ग्राहककर्ताले प्रयोग गर्ने मोबाइलमा भएको विशेषताअनुसार र ग्राहकले लिन चाहने सेवासँग ई-सिम जोडिन्छ। ई-सिम इम्बेड हुनाले सिमकार्डजस्तो हराउने, भाँचिने हुँदैन। यस्तो सुविधा यदि कुनै व्यक्ति विदेशमा गएको खण्डमा विदेशको नेटवर्क सेवा लिएर पुरानो नेटवर्क पनि राख्न सकिन्छ। त्यसलाई मोबाइलबाट हटाउन वा सिम निकाल्नुपर्ने झन्झट हुँदैन। विदेशमा उतैको ई-सिम लिएर सहजै विदेशी नेटवर्कसँग जोडिन सकिन्छ। सिमकार्ड प्रयोगमा रहँदा मोबाइल हराएको खण्डमा पुनः पहिले लिएको सिमको प्रक्रियाअनुसार प्राप्त गर्न सकिन्छ भने ई-सिम प्रयोगकर्ताको सुविधालाई मध्यनजर गर्दै मोबाइल हराएको खण्डमा हालसम्म दुई\तीन पटकसम्म क्युआर स्क्यान गरी सोही सिम लिन सकिन्छ । जुन स्कानर ग्राहकले ई-सिम लिँदा नै प्राप्त गर्ने व्यवस्था हुन्छ । जसको सुरक्षा ग्राहक स्वंयमले नै गर्नुपर्छ । ई-सिम सपोर्ट गर्ने जुनसुकै ग्राहकले ई-सिम प्राप्त गर्न सक्ने व्यवस्था छ। सिमकार्डको प्राप्तिका लागि चाहिने कागजात र शुल्क ई-सिम प्राप्त गर्नका लागि पनि एउटै व्यवस्था छ। सिमकार्डमा भएको सबै सेवा ई-सिममा पनि रहेन र ई-सिममा थप सुविधा रहन्छ। ई-सिममार्फत एउटा फोनबाट अर्को फोनबाट डाटा सार्न, ई-सिममा उपलब्ध डाटालाई आवश्यकता अनुसार परिवर्तन गर्न समेत सकिन्छ। मोबाइलले ई-सिम सपोर्ट गर्छ भने जुन अपरेटरको सेवा लिन मन छ ग्राहककोमा आफ्नो केवाईसी अद्यावधिक गराएर सिम प्रोफाइल अपडेट गराए मात्र पुग्ने टेलिकमले जनाएको छ। विश्वभर सूचना प्रविधिले फड्को मारेको परिवेशमा नेपालमा पनि ई-सिमको माग पनि बढ्दै गएको छ। नयाँ प्रविधिको विकाससँगै भविष्यमा ई-सिमको माग बढ्नसक्ने सम्भावना रहेको प्रवक्ता अधिकारीले बताए।
भिरबाट लडेर बाजुरामा एक बालिकाको मृत्यु बाजुरा । भिरबाट लडेर बाजुरामा एक बालिकाको मृत्यु भएको छ । विद्यालय जाने क्रममा भिरबाट लडेर बालिकाको मृत्यु भएको हो । प्रहरीका अनुसार बडीमालिका नगरपालिका–६ कोर्ध फडील्लाकी ६ वर्षीया कमला बडुवालको आज बिहान लडेर मृत्यु भएको हो । उनी सोही वडामा रहेको नेपाल राष्ट्रिय आधारभुत विद्यालयमा कक्षा १ मा अध्ययनरत थिइन् । विद्यालय गाउँबाट टाढा हुँदा बिहान ९ बजे घरबाट हिडेकी थिइन् । कमला घर नजिकै रहेको ढागीलोटा भन्ने ठाउँमा बाटो अप्ठ्यारो हुँदा खुट्टा चिप्लिदा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
भक्तपुर दरवार क्षेत्रभित्र मूर्ति चोरीको प्रयास, इटालियन नागरिक पक्राउ भक्तपुर। भक्तपुरको दरवारक्षेत्रस्थित तलेजु मन्दिरभित्र मूर्ति चोरीको असफल प्रयास भएको छ। तलेजु मन्दिर सुन्धारा परिसरमा करिब पौने १ बजे एक जना इटलियन नागरिकले मूर्ति चोरीको असफल प्रयास गरेका हुन्। ती विदेशी नागरिकले आफूसँंग भएको चक्कुले धातुको मूर्ति निकाल्न लागेको देखेपछि प्रत्यक्षदर्शीले  तलेजुको सुरक्षार्थ खटिएका नेपाली सेनाको जवानलाई खवर गरे । त्यसपछि सेनाका जवानले पक्राउ गर्न खोज्दा ती विदेशी नागरिक भाग्न खोजेका थिए । तर, पनि उनलाई पक्राउ गरी नेपाल प्रहरीको जिम्मा लगाइएको थियो। प्रत्यक्षदर्शी सुरेश कवांले ती विदेशी नागरिकले आफूसँंग भएको चक्कुले मूर्ति निकाल्न खोजेको बताए । यसपछि आफूले तलेजुको गेटमा रहेका नेपाली सेनाका जवानलाई खवर गरेको उनले जानकारी दिए। खबरपछि ती विदेशी नागरिकले मूर्ति भुइँंमा राखेर भाग्न खोजेको कवांले बताए। प्रहरीले पक्राउ गरेपछि उक्त विदेशी नागरिकको राहदानी नं वाईवी २१४५७०८ को इटालियन नागरिक तिजियानो रोन्ची भएको खुलेको छ। पुरातत्व विभाग, स्मारक संरक्षण तथा दरवार हेरचाह अडा भक्तपुरकी प्रमुख अरुणा नकर्मीले ती विदेशी नागरिक भक्तपुर नगर प्रवेश गर्दा नगर प्रवेशको टिकटसमेत नलिई चोरबाटोबाट प्रवेश गरेको जानकारी प्राप्त भएको जानकारी दिइन्। भक्तपुर नगर प्रवेश गर्नका लागि प्रवेश शुल्क लिनुपर्ने व्यवस्था छ। भक्तपुर नगरपालिकाले नगर प्रवेश गर्ने प्रति पर्यटकसँंग १० अमेरिकी डलर प्रवेश शुल्क लिने गरेको छ। नगरपालिकाले नगरको चारैतिरका प्रवेशद्धारमा कर्मचारीहरु खटाई नगर प्रवेश गर्ने विदेशी पर्यटकहरुसँंग प्रवेश शुल्क उठाउँदै आएको छ पुरातत्व विभाग, स्मारक संरक्षण तथा दरवार हेरचाह अडा भक्तपुरकी प्रमुख नकर्मीले सीसीटीभीको क्यामेराको सहायताले हेर्दा सुन्धारा परिसरमा चारजना व्यक्तिहरु ओहोरदोहोर गरिरहेको देखिएको सुनाइन्। पक्राउ परेका ती विदेशी नागरिकलाई प्राचिन स्मारक संरक्षण ऐन २०१३ बमोजिम आवश्यक कारबाहीलाई प्रहरीलाई बुझाएको नकर्मीले बताइन्। घटनाबारे जिल्ला प्रशाशन कार्यालय भक्तपुर, पुरातत्व विभाग रामशाहपथ काठमाडौं र भक्तपुर नगरपालिका व्यासी भक्तपुरलाई पनि बोधार्थ पठाइएको जनाइन्।
मोटरसाइकल दुर्घटनामा कुस्तीका पूर्वराष्ट्रिय खेलाडीको मृत्यु सप्तरी। सप्तरीको राजविराज नगरपालिका–११ स्थित पम्प नहरको भित्री सडकमा स ४ प ३२७५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा कुस्तीका पूर्वराष्ट्रिय खेलाडीको मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकल चालक तिलाठी कोईलाडी गाउँपालिका–२ लौनियाका ५० वर्षीय पूर्व खेलाडी श्याम मण्डलको मृत्यु भएको प्रहरीले जनाएकाे छ। बुधबार राति १० बजेतिर दुर्घटनामा परि गम्भीर घाइते भएका मण्डलको छिन्नमस्ता अस्पताल राजविराजमा उपचारको क्रममा मध्य‍राति १२ बजे मृत्यु भएको प्रहरीको भनाइ छ।
गुल्मीको धुर्कोटमा नयाँ गुफा फेला पर्‍यो गुल्मी। गुल्मीको धुर्कोट गाउँपालिकामा नयाँ गुफा फेला परेको छ। गत छ दिनअघि हाडहाडेको बर्दबासस्थित धाराखोलामा करिब एक सय मिटर लामो गुफा फेला परेको वडाध्यक्ष पदम विष्टले जानकारी दिए। दुम्सीको दुलो भनेर चिनिएको उक्त ठाउँमा मान्छे छिर्नसक्ने प्वाल थियो। गुफाभित्र शिवलिङ्ग, गाईको थुन, मूर्ति, मानिसको आकार, रक्त धारा, सातमुखे नागका आकार, महिलाले बच्चा लिएर बसेको, नाग, खेतबारी जस्ता देखिने विभिन्न आकर्षक आकृति रहेको उनले बताए। नयाँ गुफा फेला परेको जनाकारी पाएपछि यतबेला दैनिक सयौँ मानिस अवलोकनका लागि गुफा पुग्ने गरेका छन्। पाँच दिनको अवधिमा छ सयभन्दा बढी व्यक्तिले अवलोकन गरिसकेको वडाध्यक्ष विष्टले बताए। विसं २०२८ मा बहुदलीय र निर्दलीयबीचको लडाईं हुँदा सोही ठाउँमा गई लुकेको स्थानीयवासीले बताए। विसं २०६२ मा तुलाराम पाण्डेलगायत स्थानीयवासी सो ठाउँमा ढुङ्गा झिकेर भित्र पस्ने प्रयास गर्दा प्वालभित्र रहने जङ्गली जनावरको आक्रमणको भयले भित्र जान सकेका थिएनन्। मान्छे लुक्न मिल्ने प्वाल भेटिए पनि उक्त स्थानलाई साराको दुलोको नामले चिन्दै आइएको थियो। छलफलकै क्रममा उक्त ठाउँमा प्वाल भएको जानकारीपछि वडाध्यक्ष विष्टकै पहलमा स्थानीय तुलाराम पाण्डेको नेतृत्वमा प्वाल भित्र जाँदा गुफा रहेको पत्ता लागेको हो। उक्त गुफाको चौडाइ र उचाइ पाँचदेखि आठ फुटसम्म रहेको बताइएको छ। नयाँ फेला परेको गुफालाई ‘धनिश्वर मनोरम नागेश्वर गुफा’ नामकरण गरिएको छ । गुफा संरक्षणका लागि रामप्रसाद कुँवरको अध्यक्षतामा १३ सदस्यीय संरक्षण समिति, प्रेम नेपालीको संयोजकत्वमा प्रचारप्रसार समिति र जुद्धबहादुर खत्रीको संयोजकत्वमा सल्लाहकार समिति गठन गरिएको छ। हाडहाडेमा भेटिएको नयाँ गुफासँगै धुर्कोट गाउँपालिकामा विचित्र गुफासहित गुफाको सङ्ख्या दुई पुगेको छ।
छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा १० जनाको मृत्यु काठमाडौँ। देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको छ। काठमाडौं, शंखरापुर नगरपालिका-९ ईन्द्रायणीस्थित सडकमा बा.५ ख २४१४ नम्बरको टिपरले बा.९४ प ४४९८ र बा.८२ प ८३५७ नम्बरको मोटरसाइकललाई बुधबार साँझ ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरूमा बा.९४ प ४४९८ नम्बरको मोटरसाइकल चालक सोही नगरपालिका-७ साँखु घर भएका ५० वर्षीय पवन लाल श्रेष्ठ र बा.८२ प ८३५७ नम्बरको मोटरसाइकल चालक सोही नगरपालिका-९ बस्ने २२ वर्षीय हरि खड्का रहेका छन्। ठक्करबाट गम्भीर घाइते भएका पवन लालको नेपाल मेडिकल कलेज अत्तरखेलमा र हरिको शंखरापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएकी बा.९४ प ४४९८ नम्बरको मोटरसाइकलमा सवार १ जना महिलाको ग्राण्डी अस्पताल टोखामा उपचार भइरहेको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। कञ्चनपुर, कृष्णपुर नगरपालिका-५ गुलरीया बजारस्थित सडकमा सु.प.प्र.०१००१ च २६२३ नम्बरको बोलेरो जिपले सु.प.प्र.०२००३ प ९८८६ नम्बरको मोटरसाइकललाई बुधबार राति ठक्कर दिँदा मोटरसाइकलमा सवार शुक्लाफाटा नगरपालिका-७ बस्ने २५ वर्षीय मनिष चौधरीको मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो। ठक्करबाट घाइते भएका मोटरसाइकलमा सवार चालकसमेत २ जनाको पद्मा अस्पताल अत्तरीयामा उपचार भइरहेको छ। जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सप्तरी, राजबिराज नगरपालिका-११ पम्प नहरस्थित सडकमा स. ४ प ३२७५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा चालक तिलाठी कोईलाडी गाउँपालिका-२ लौनिया बस्ने ५० वर्षीय श्याम मण्डलको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको छिन्नमस्ता अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो। यसैगरी सप्तरी, बिष्णुपुर गाउँपालिका-१ जमुनीस्थित सडकमा ना.३ स ९६३० नम्बरको अटो अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा अटोमा सवार खडक नगरपालिका-८ बिसनपुर बस्ने ४० वर्षीया आमना खातुनको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी उनको गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा परी घाइते भएका अटोमा सवार अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। महोत्तरी, औरही नगरपालिका-१ स्थित सडकमा ‘अन टेस्ट’ मोटरसाइकलको ठक्करबाट साईकलयात्री गौशाला नगरपालिका-१० भरतपुर बस्ने ४५ वर्षीया राजकुमारी मुखियाको बुधबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको न्यूरो अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका साइकल तथा मोटरसाइकलमा सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । फरार मोटरइकलमा सवार १ जनाको प्रहरीले खोजी गरिरहेको छ। रोल्पा, त्रिवेणी गाउँपालिका-२ दहबनमा रा.१ त १७२५ नम्बरको ट्याक्टर सडकबाट करिब १५ मिटर तल खसेर बुधबार राति दुर्घटना हुँदा ट्याक्टरमा सवार सल्यान कुमाक गाउँपालिका-६ बस्ने ३२ वर्षीय टोप लाल बिकको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा परी घाइते भएका ट्याक्टरमा सवार ७ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। धनुषा, सबैला नगरपालिका-१२ बरकुर्वास्थित सडकमा स.३ प १६४३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा चालक गणेशमान चारनाथ नगरपालिका-३ बस्ने ४० वर्षीय जगदिश सदाको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा परी घाइते भएका मोटरसाइकलमा सवार अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। पर्सा, वीरगंज महानगरपालिका-१४ गण्डक चोकस्थित सडकमा प्रदेश २-०३-००४ प ७९३० नम्बरको मोटरसाइकल र ना.२५ प ४००३ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर बुधबार राति दुर्घटना हुँदा प्र.२-०३-००४ प ७९३० नम्बरको मोटरसाइकल चालक बारा परवानीपुर गाउँपालिका-४ चैनपुर बस्ने २६ वर्षीय सुरज सराफको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको एल एस न्यूरो अस्पताल बारामा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका ना.२५ प ४००३ नम्बरको मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ। कैलाली, धनगढी उपमहानगरपालिका-३ मिलनचोकस्थित सडकमा से.१ ह २६३९ नम्बरको अटो अनियन्त्रित भई बिहीबार बिहान दुर्घटना हुँदा अटोमा सवार गौरीगंगा नगरपालिका-४ बस्ने ८५ वर्षीय तिलानन्द जोशीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको माया मेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो। अटो र अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
सहरी संरचनाले बालबालिकालाई दिएको सास्ती काठमाडौं। विदेशबाट नेपाल आएका मामालाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गएका सहज लामिछाने निकै उत्साहित थिए। लामो समयपछि मामा र भाञ्जाको भेट हुँदै थियो। दश वर्षका उनी विमानस्थलको स्वागत कक्षमा रहेको शौचालय प्रयोग गर्न भित्र छिरे । पिसाब गर्नसक्ने बालमैत्री शौचालय नहुँदा उनी त्यहाँ राखिएको प्यानसम्म पुग्न सकेनन् र लगाएको कपडामै पिसाब चुहियो। एकैछिन अघिसम्मको उनको मामा, माइजु र भाइ भेट्ने उत्साह क्षणभरमै सेलायो। उनी पिसाबले लुगा भिजेपछि लज्जित महसुस गर्न थाले। उनको यो नरमाइलो मनोविज्ञान देखेपछि आमाको मन पनि खिन्न भयो। उनलाई मामा माइजुको स्वागतभन्दा पनि कतिखेर घर पुगेर लुगा फेर्ने भन्ने कुराले बढी पिरोल्यो। निजी तथा सरकारी भवन, सार्वजनिक यातायात, सार्वजनिक स्थल तथा शौचालय कहीँ पनि बालमैत्री संरचना नहुँदा बालबालिकाले अनेक सास्ती खेप्नु परेको छ। साथै उनीहरुले लज्जित र असहज महसुस गरेको पाइन्छ। अन्तर्राष्ट्रिय विमानस्थल जहाँ दैनिक सयौँ यात्रु भित्रन्छन्। विदेशबाट भित्रिने आगन्तुक र उनी जसरी नै स्वागतार्थ गएका सयौँ बालबच्चाले यस्तै अनुभव गरेको हुनुपर्छ। बालबालिका लज्जित र असहज हुनुपर्ने अरु पनि थुप्रै स्थान छन्। सहरका कैयौँ संरचनाले बालबालिकालाई सताइरहेका छन्। दिनहुँ दःुख दिइरहेका छन्। त्यसो त सार्वजनिक यातायातमा पनि बालबालिका सिट भनेर छुट्याउने गरिएको छैन। वयस्ककै सिटमा बालबालिका बस्नुपर्ने हुन्छ। सहचालकले च्याठिँदै बालबालिकालाई काखमा राख्न निर्देशन दिइरहेको हुन्छ। बालबालिकालाई चाहेर पनि सिटमा राख्न पाइँदैन, दिइँदैन। बालबालिकालाई न बस्ने सिट हुन्छ नत समाउनका लागि पुग्ने ठाउँ नै। कठिन यात्रा गर्न बाध्य हुन्छन् उनीहरु। आमाको काखमा बस्ने उमेरका त काखमा बस्लान् तर छ/सात देखि ११/१२ वर्षका बालबालिका भने न बस्न पाउँछन् न उनीहरुका लागि उभिएर समाउने ठाउँ नै राखिएको हुन्छ। साझा यातायातमा बालबालिकाका लागि सिट छुट्याएको छ। तर ती सिट वयस्ककै जस्ता छन्। बालमैत्री छैनन्। त्यति मात्र होइन, पार्टी भोजभतेरमा जाँदासमेत उनीहरु सहज महसुस गर्न सक्दैनन्। उनीहरुका लागि साना प्लेटहरु राखिएका हुँदैनन्, वयस्कहरुकै लागि राखिएका उचाल्न पनि नसकिने ठूला प्लेटमा खानुपर्ने हुन्छ। न त उनीहरु बस्ने टेबल कुर्ची बालमैत्री नै हुन्छ। साना पार्टी भेन्युदेखि अधिकांश ठूला तारे होटलको अवस्था यस्तै छ। सपिङ महल होस् या सडक पेटी प्रायः सबै स्थानमा बालबालिकालाई सहज छैन। शहरी संरचना पनि बालमैत्री छैन। शहरमा बालमैत्री पार्कहरु पनि छैनन्। जहाँ गएर बच्चाहरु ढुक्कले खुला ठाउँमा प्रकृतिसँग खेल्न सकुन्। खुला चौरमा खेल्ने शारिरीक विकास गर्ने उमेरका बालबालिका कोठामै सिमित हुन्छन्। शारीरिक विकास गर्ने र प्रकृतिबाट नजिक भएर खेल्ने अधिकारबाट उनीहरु बन्चित भइरहेका छन्। नेपालको संविधानले मौलिक हकअन्तर्गतको धारा ३९ मा बालबालिकाको अधिकारको व्यवस्था गरिएको छ। राज्य वा परिवारबाट प्रत्येक बालबालिकालाई खेलकुद, मनोरञ्जन तथा सर्वाङ्गीण व्यक्तित्व विकासको हक हुनेछ भनी स्पष्ट व्यवस्था गरिएको छ। त्यस्तै बालबालिकाको अधिकारको सम्मान, संरक्षण र प्रवद्र्धन र परिपूर्ति गरी बालबालिकाको सर्वोत्तम हित कायम गर्न बालबालिकासम्बन्धी ऐन २०७५ पनि कार्यान्वयनमा छ। बालबालिकाका प्रारम्भिक बालविकासका उमेरमा उपलब्ध सकारात्मक वातावरणले उनीहरुको स्वास्थ्य, भविष्यको पढाइ, रोजगारीका अवसर र समग्र उत्पादनशीलता अभिवृद्धि गर्दछ। बालबालिीकाको बाँच्न पाउने अधिकार, विकासको अधिकार र सहभागी हुन पाउने अधिकारको सुनिश्चितताले उनीहरुको सर्वाङ्गीण विकासमा टेवा पुर्‍याउँछ भन्ने कुरालाई सबैले आत्मसाथ गर्न सकेको देखिँदैन्। सहरी बालबालिका र ग्रामीण तथा दुर्गमका बालबालिकाका समस्याहरुमा समानता छैनन्। ग्रामीण बालबालिकाका समस्या अझ बढी संवेदनशील भएकाले पनि राज्यका बालबालिकासम्बन्धी काम गर्ने संयन्त्र ग्रामीण बालबालिकाका गास, बास, कपास, शिक्षा, स्वास्थ्य प्रवद्र्धन र बालश्रम न्यूनीकरण जस्ता विषयमा बढी केन्द्रित हुनुपर्नेमा जोड दिन्छन् समाजकल्याण परिषद्का सदस्य सचिव मनोज भट्ट। नेपालले बालअधिकारसम्बन्धी नीतिगतरुपमा काम गर्न थालेको नै एक दशकभन्दा बढी भयो। सहरी संरचना बालबालीकामैत्री नै हुनुपर्छ भन्ने सरकारको पनि धारणा हो। तर यसले समय लिन्छ । पुराना र बनिसकेका संरचना जे जस्ता भए पनि नयाँ बनेका र बन्दै गरेका संरचना बालबालिकामैत्री नै हुनुपर्छ। भौतिक संरचना मात्र नभएर व्यवहार, संवेदनशीलतालगायतका हरेक कुरा बालसुलभ हुनुपर्ने सरकारको अवधारणा रहेको राष्ट्रिय बालअधिकार परिषद्का प्रवक्ता तथा सूचना अधिकारी रामबहादुर चन्दले बताए। नेपालले बाल अधिकारसम्बन्धी महासन्धि २०४७ भदौ २९ गते अनुमोदन गरेर महासन्धिको पक्ष राष्ट्र बनेको छ। सोही दिनलाईं नै आधार मानेर हरेक वर्ष नेपालले बाल दिवस मनाउने गरेको छ । त्यस्तै अन्तर्राष्ट्रिय बाल दिवस बाल अधिकार महासन्धि १९८९ पारित भएको दिन पारेर नोभेम्बर २० का दिन मनाइन्छ। सरकारले नेपाल भ्रमण दशक सन् २०२३ देखि २०३३ घोषणा गरी सोहीअनुसार मनाउन सुरु गरे पनि बालबालिकाका समस्या र आवश्यकतालाई पूरा गर्ने संरचना नहुँदा उनीहरुले अपहेलित भएको ठान्ने गरेका छन्। नेपालका लागि विकास गरिएको बाल–वञ्चितीकरण सूचकाङ्कअनुसार बालबालिकासँग सम्बन्धित सबैभन्दा कमजोर सामाजिक तथा आर्थिक वञ्चितिको अवस्था मधेस प्रदेशको मध्यतराई, कर्णाली प्रदेशको मध्यपश्चिम तथा सुदूरपश्चिम क्षेत्र रहेका छन्। हाल १८ वर्ष मुनिका ३१ प्रतिशत बालबालिका गरिबीमा बाँचिरहेको सो तथ्याङ्कले देखाएको छ। सहरमा बाल श्रमिक पनि अझै नियन्त्रण भएको देखिँदैन । सवारीका सहयोगी, साना होटल तथा रेस्टुरेन्टमा खाना ओसार्नेदेखि भाँडा माँझ्नेसम्ममा १८ वर्षमुनिका बालबालिका संलग्न रहेका छन्। युनिसेफको प्रतिवेदनअनुसार प्रारम्भिक बाल शिक्षामा तीनदेखि पाँच वर्ष उमेरका बालबालिकाको उपस्थिति ५१ प्रतिशत रहेको छ। प्रतिवेदनअनुसार पाँच देखि १२ वर्ष उमेरका सात लाख ७० हजार बालबालिका विद्यालय जाँदैनन्। थोरै मात्र विद्यालयले बालमैत्री विद्यालयको मापदण्ड पूरा गरेका छन् भने केवल ११ प्रतिशत विद्यालयका भवन मात्र भूकम्प प्रतिरोधी रहेका छन्। एकदेखि १४ वर्ष उमेरका ८२ प्रतिशत बालबालिकालाई परिवारकै सदस्यले कुनै न कुनै रूपमा मानसिक वा शारीरिक दण्ड सजाय दिएको पाइन्छ। पाँचदेखि १७ वर्ष उमेरका बालबालिकामध्ये ३७ प्रतिशत श्रममा लगाइएका छन्। कानुनसँग विवादमा परेका बालबालिकाका लागि हिरासतको विकल्प तथा पुनःस्थापना सेवा उपलब्ध हुन सकेका छैनन्। न्यायिक प्रक्रियामा बाल संवेदनशील कार्यविधिको कमी रहेको छ। १९ प्रतिशत विद्यालयमा छात्रछात्राका निम्ति भिन्नै शौचालय एवं महिनाबारीका बेला आवश्यकपर्ने सरसफाइको व्यवस्था छैन।
ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु, सात घाइते रोल्पा।  रोल्पाको त्रिवेणी गाउँपालिका–२ दहवनमा गए राति ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा सात घाइते भएका छन्। मृत्यु हुनेमा ट्र्याक्टरमा सवार मजदुर सल्यानको कुमाक गाउँपालिका–६ का ३२ वर्षीय टोपलाल विक रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रकाश भुसालले जानकारी दिए। उनको राप्ती विज्ञान प्रतिष्ठान दाङमा उपचारका क्रममा मृत्यु भएको हो। सडकमा काम गर्ने मजदुर सवार रा१त १७२५ नम्बरको ट्र्याक्टर सडकबाट तल खसेको थियो। दुर्घटनामा परी घाइते सातैजनाको दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ। ट्र्याक्टर चालक दाङको घोराही उपमहानगरपालिका–३ का २९ वर्षीय नवीन चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
आजको मौसम: पहाडी भू-भागमा वर्षा, हिमाली भू-भागमा हिमपातकाे संभावना काठमाडौं। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति भने कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश देशका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन रचट्याङ्ग सहित क्षणिक र हल्का वर्षाको सम्भावना रहनुका साथै देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
समाज र राष्ट्र निर्माणका लागि महिला एकजुट हुनुपर्छः उपसभामुख रानामगर बनियानी। प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरले समाज र राष्ट्र निर्माणका लागि महिला एकजुट हुनुपर्नेमा जोड दिएकी छन्। एक सय १३औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा झापाको कनकाई नगरपालिकाले आज आयोजना गरेको सम्मान तथा सांस्कृतिक कार्यक्रममा उनले समाज र राष्ट्र निर्माण लागि महिला एकजुट हुनुपर्नेमा जोड दिइन्। “जात, धर्म नभनी महिला एकजुट हुनुपर्छ”, उनले भनिन्, “सबै महिलाको विकास गर्नुपर्छ।” दुर्गम क्षेत्रका महिलाले धेरै कष्टपूर्ण जीवन बिताइरहेका बताउँदै उनले दुर्गम क्षेत्रका महिलाको आवाज उठाउनुपर्नेमा जोड दिइन्। महिला सुनको पिँजडामा होइन, स्वतन्त्र भएर सबै महिलाको पक्षमा उभिनुपर्ने उनको भनाइ थियो। हालको महिला सभागितालाई वृद्धि गरेर ५० प्रतिशत पुर्‍याउन सबै महिला एकजुट हुनुपर्ने बताइन्। नेपालमा मात्र नभई अन्तर्राष्ट्रियस्तरमा नेपाली महिला उदाहरणीय बन्न लाग्नुपर्ने उनको भनाइ छ। समाज र मुलुकको समग्र विकासका लागि महिला र पुरुष हातमा हात साथमा साथ दिएर अघि बढ्नुपर्ने उनले उल्लेख गरिन्। महिलाको समस्या सम्बोधन गर्न र आवश्यक नीति निर्माणमा सदनमा आफूले पहल गर्ने उनले प्रतिबद्धता जनाइन्। कार्यक्रममा कनकाई–२ का एक सय चार वर्षीया ज्येष्ठ माता रेणुकादेवी पोखरेल, शिक्षासेवी पूर्वप्रधानाध्यापक कनकाई–७ का अञ्जना सिटौला, फुटबल खेलाडी सिमरन राई र सौन्दर्य (मोडल)कर्मी अंशिका शर्मालाई नगदसहित सम्मान गरिएको थियो। सम्मानित व्यक्तित्वलाई उपसभामुख रानामगरले सम्मानपत्र हस्तान्तरण गरेकी थिइन्। कार्यक्रममा नगरप्रमुख राजेन्द्र पोखरेलले नगरपालिकाले महिलाको हकहित र वृत्ति विकासका लागि काम गर्दै आएको बताए। त्यस्तै उपप्रमुख आशा शर्मा शिवाकोटीले नगरपालिकामा महिला हिंसाका घटना कमै रहेको बताइन्। आएका घटनालाई सबैको पक्षमा विजयको अवस्थामा मिलाउने हरसम्भव प्रयास गर्ने गरिएको बताइन्। उनले महिलाको आर्थिक, सामाजिक, राजनीतिक विकास लागि नगरले सक्दो सहयोग गर्ने र त्यस प्रकारका कामका लागि प्रस्ताव ल्याउनसमेत आग्रह गरिन्।
तातोपानी भन्सारका मजदुरले एक वर्षदेखि ज्याला पाएनन् चौतारा । तातोपानी भन्सारमा विभिन्न ट्रान्सपोर्टका लागि काम गर्ने मजदुरले एक वर्षदेखि ज्याला नपाउँदा दैनिक जीवन कष्टकर बनेको छ । चीनबाट ढुवानी गरेर आइपुगेका सामान भन्सार जाँचका लागि पल्टी गरेवापतको ज्याला नपाउँदा छ सय ४२ मजदुरलाई हात–मुख जोड्न नै समस्या भएको हो । दैनिक मजदुरी गरी खानेलाई सिल्क, शारदा, नमस्ते ट्रान्सपोर्ट, रेवाङ लजिस्टिकलगायतका ट्रान्सपोर्ट कम्पनीले सामान पल्टी गरेवापतको ज्याला नदिँदा दैनिक गुजारा गर्नै मुस्किल भएको मजदुर डोमा शेर्पा बताउँछन् । यहाँ काम गर्ने मजदुरको आफ्नो जग्गाजमिन छैन । सम्पूर्णरूपले ट्रान्सपोर्टको ज्याला मजदुरीमा निर्भर उनीहरू यही कामबाट परिवारको पेट पाल्छन् । पुरानो ज्याला पाइहालिन्छ कि भनेर अहिले पनि आफू दिनभर खटेर सामान ओसारपसार गरिरहेको तर साँझ रित्तो हात घर फर्किन बाध्य भएको मजदुर मीनबहादुर श्रेष्ठ दुःखेसो पोख्छन् । अचेल तातोपानी नाकाबाट सामान आयातमात्रै हुन्छ । चीनबाट सीमित मात्रामा कन्टेनर भन्सारमा आउने हुँदा त्यसै पनि मजदुरहरूले भने जसरी काम गर्न पाएका छैनन् । दैनिक ज्याला मजदुरी गरी साँझ बिहानको घर खर्च जुटाउने मजदुरहरूको ज्याला दिन ट्रान्सपोर्ट कम्पनीले ढिलाइ गर्दा मजदुरहरूको दैनिक जीवन कष्टकर बनेको पासाङ शेर्पा बताउँछन् । ज्याला पाउने आश्वासनमा मजदुरहरूले वर्ष दिन बिताइसके । तर कम्पनीले कहिले ज्याला चुक्ता गर्छन् निश्चित छैन । दैनिक भन्सारमा आएर पसिना चुहाउँदै काम गर्ने तर साँझ रित्तो हात फर्किनुपर्ने बाध्यताको अन्त्य गराइदिन नेपाल भन्सार श्रमिक सङ्घका अध्यक्ष रवीन्द्र पौड्यालको माग छ ।
कानुनमा व्यवस्था छ तर अधिकारबाट बञ्चित छन् महिला काठमाडौं। संविधान र कानुनले महिलाको हक अधिकारका लागि राम्रो व्यवस्था गरे पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसक्दा महिला आफ्नो हक अधिकारबाट बञ्चित छन्। कानुनमा व्यवस्था गर्ने, राजनीतिक दलले लोकप्रियताका लागि घोषणापत्रका उल्लेख गर्ने तर व्यवहारमा कार्यान्वयन हुन नसक्दा महिलाले पाउनुपर्ने हक अधिकारबाट बञ्चित भएको राजनीतिक दलका नेत्री तथा महिलामाथि सरोकार राख्ने व्यक्तिको साझा धारणा रहेको छ। “राजनीतिक तथा लैङ्गिक आन्दोलनबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानमा लैङ्गिक समानता, समानुपातिक\समावेशीमूलक प्रणालीको व्यवस्था गरेको छ”, राष्ट्रियसभामा उपाध्यक्ष उर्मिला अर्यालले भनिन्, “यी उपलब्धिका बाबजुद महिला समानताका लागि संविधानमा गरिएको व्यवस्था पूर्ण छैन, सङ्घ, प्रदेश र स्थानीय सरकारका कार्यकारी तहमा ५० प्रतिशत महिला प्रत्यक्ष निर्वाचन लड्न पाउनुपर्ने बाध्यात्मक संवैधानिक व्यवस्था गरिनु पर्दछ।” समान कामको समान ज्यालालगायतका मागसहित सुरु भएको ऐतिहासिक महिला आन्दोलनले ११३औँ वर्ष पार गरिसकेको छ तर अझै पनि आन्दोलनको मूल एजेन्डा नफेरिएको उनको ठहर छ। “अहिले पनि महिलाले महिला भएकै कारण हुने लैङ्गिक विभेद, शोषण र असमानताको सामना गर्नु परिरहेको छ”, उनको भनाइ छ। महिला हिंसा नेपाली समाजको डरलाग्दो चुनौती मात्र नभएर सामाजिक कलङ्कका रुपमा रहेको उल्लेख गर्दै उनले भनिन्, “सूचना प्रविधिको विकासले महिलामाथि प्रविधिकै दुरुपयोग गरी हिंसाका भयावह घटना हुने गरेका छन्, त्यसैले प्रविधिको दुरुपयोगबाट हुने हिंसाबाट बच्न महिला आफैँले प्रविधिको ज्ञान प्राप्त गर्न आवश्यक छ।” नेपाली कांग्रेसका सांसद आशा विकलाई विश्वका अन्य मुलुकको तुलनामा राजनीतिकलगायत राज्यको संरचनामा महिलाको सहभागितामा उत्साहप्रद नै देखिए पनि यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको अनुभव छ। “संविधानमा उल्लेख भएका विषयवस्तुलाई कार्यान्वयनमा लैजाने वातावरण बनेको छ, तैपनि राज्यमा सबै निकायमा महिलाको जनसङ्ख्याअनुसार प्रतिनिधित्व सुनिश्चित हुन सकेको छैन”, उनले भनिन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका नेत्री सरस्वती अधिकारीले संविधानले दिएका महिलाको अधिकारको प्रयोग र कार्यान्यवनमा गर्नुपर्नेमा जोड छ। “यो वर्षमा एकदिन मात्र हक अधिकारका कुरा सुनेर दङ्ग पर्ने होइन”, उनले भनिन्, “महिलाले आफ्नो क्षमता बुझेर ठाउँ विशेषमा दाबी गर्नुप¥यो, आफूले आफूलाई स्वमूल्याङ्कन गरेर आफ्नो क्षमता वृद्धिमा लाग्नुपर्‍यो।” नेपालमा संवैधानिक व्यवस्थाअनुसार केही महिलाले निर्णायक तहमा नेतृत्व गर्ने मौका पाएका छन् । नेपालमा राष्ट्रप्रमुखको नेतृत्व गर्ने अवसर महिलालाई मिलेको छ। राष्ट्रपतिमा विद्यादेवी भण्डारी छन्। उपसभामुखमा इन्दिरा राना, राष्ट्रियसभाको उपाध्यक्षमा उर्मिला अर्याल छन्। वर्तमान सरकारमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीर्पाली छन्। पछिल्लो स्थानीय तह निर्वाचनमा ४१.२ प्रतिशत महिला निर्वाचित भएका छन्। त्यसैगरी सङ्घीय संसद्मा ३४ प्रतिशत महिलाको उपस्थिति रहेको छ। २०६२\६३ को राजनीतिक परिवर्तनपछि संसद्मा महिलाको सहभागिता बढ्दै गएको छ। विसं २०६४ मा भएको पहिलो संविधानसभाको चुनावमा ३२.७८ प्रतिशत महिला सदस्य निर्वाचित भएका थिए। संविधानसभाको दोस्रो निर्वाचनम २०७० मा २९.२८ प्रतिशत थियो। त्यस्तै २०७२ सालमा जारी भएको संविधानले सङ्घीय संसद्का दुवै सदनमा गरी कम्तीमा पनि एक तिहाइ महिला सदस्य रहने बाध्यकारी व्यवस्था गरेपछि महिला सहभागिता संवैधानिकरुपमा सुरक्षित भएको छ। संविधान जारी भएपछि २०७४ सालमा भएको चुनावमा सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन प्रणालीबाट छ जना र समानुपातिक निर्वाचन प्रणालीबाट ८४ जना गरी ९० जना महिला सदस्य (३२.७३ प्रतिशत) को प्रतिनिधित्व थियो। त्यस्तै ५९ सदस्यीय राष्ट्रियसभामा २२ जना महिला (३७.२९ प्रतिशत) सदस्यको सहभागिता रहेको थियो। महिला सशक्तीकरण, सहभागिता, लैङ्गिक समावेशीकरण गर्दै समतामूलक समाज निर्माण गर्ने सम्बन्धमा नेपालको संविधान २०७२ कोशेढुङ्गा सावित भएको छ। संविधानमा राष्ट्रिय महिला आयोगले संवैधानिक मान्यता प्राप्त गरिसकेको छ । यले महिलाको हक अधिकारका लागि काम गर्नेछ। संविधानको धारा ७० मा राष्ट्रपति वा उपराष्ट्रपति फरकफरक लिङ्ग वा समुदायको हुनुपर्ने व्यवस्था छ। धारा ८४ मा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने प्रत्येक राजनीतिक दलबाट कूल सदस्य सङ्ख्याको कम्तीमा एक तिहाइ सदस्य महिला हुनुपर्छ। धारा ९१ मा प्रतिनिधिसभाको सभामुख र उपसभामुखमध्ये एक जना महिला हुने गरी निर्वाचन गर्नुपर्ने र प्रतिनिधिसभाको सभामुख र उपसभामुख फरकफरक दलको हुनुपर्ने व्यवस्था छ। धारा ९२ बमोजिम राष्ट्रियसभाको अध्यक्ष र उपाध्यक्षमध्ये एक जना महिला हुनुपर्छ। धारा १७६ मा प्रदेशसभामा प्रतिनिधित्व गर्ने प्रत्येक राजनीतिक दलबाट निर्वाचित कूल सदस्य सङ्ख्याको एक तिहाइ सदस्य महिला हुनुपर्दछ। धारा १८२ (२) मा प्रदेश सभामुख र उपसभामुखमध्ये एक जना महिला हुनुपर्ने व्यवस्था छ। वरिष्ठ पत्रकार बविता बस्नेतले विगतको तुलनामा महिला सहभागिता बढेको सुनाइन्। “राजनीतिक पार्टीमा नै महिलाको सहभागिता सुनिश्चित हुनुपर्छ, समानुपातिकमा छ तर पार्टीले टिकट नै दिँदैनन्”, उनले भनिन्, “पार्टीमा महिलालाई उचित स्थान दिएनन्, समानुपातिक व्यवस्था लागू भयो तर कार्यान्वयन हुन सकेको छैन।” “महिलाको अधिकार प्राप्तिका निम्ति भएको कानुनको कार्यान्वयन गर्दै समयसापेक्ष कानुनलाई सुधार गर्नुपर्छ”, न्यूनतम पारिश्रामिक निर्धारण समितिका अध्यक्ष सङ्गीता खड्काले भनिन्, “महिला अधिकारका लागि महिला मात्र बोलेर हुँदैन, महिला र पुरुषसँगै हातेमालो गर्नुपर्छ।” उनले दलले लोकप्रियताका चुनावी एजेण्डा बनाउने गरेको तर त्यसलाई कार्यान्वयन गर्नेतर्फ ध्यान नदिएको अनुभव सुनाइन्। सञ्चारिक समूहका पूर्वअध्यक्ष निर्मला शर्माले राज्यका हरेक संरचनामा स्थानीय तहदेखि केन्द्र तहसम्म नीति निर्माणमा सहभागिता हुनुपर्ने जरुरी देख्छिन्। “महिला स्थानीय तहदेखि केन्द्र तहसम्म नीति निर्माण गर्ने ठाउँसम्म हुनुपर्छ, नत्र सोचे झैँ उपलब्धि हुन सक्दैन।” नेपालको संविधानको मौलिक हकअन्तर्गत महिलाको हकको व्यवस्था गरिएको छ। “प्रत्येक महिलालाई लैङ्गिक भेदभावविना समान वंशीय हक हुनेछ, राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हक हुनेछ”, भनी संविधानको मौलिक हकमै व्यवस्था गरिएको छ। साथै महिलालाई शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षामा सकारात्मक विभेदका आधारमा विशेष अवसर प्राप्त गर्ने हक हुनेछ भनेर पनि संविधानले व्यवस्था गरेको छ। उक्त हकमा कुनै पनि आधारमा शारीरिक, मानसिक, यौनजन्य कार्य वा शोषण गरिने छैन। त्यस्तो कार्य कानुनबमोजिम दण्डनीय हुनेछ र पीडितलाई कानुनबमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ भनी व्यवस्था गरेको छ। तर भएका कानूनको प्रभावकारीरुपमा कार्यान्वयन हुन नसक्दा महिलाले अहिले पनि आफ्नो अधिकार, समानता र अन्यायका लागि आवाज उठाउनुपर्ने बाध्यता छ। यो वर्ष ११३औँ अन्तर्राष्ट्रिय महिला दिवस ‘लैङ्गिक समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ नारासहित प्रविधिमा महिलाको पहुँच बढाएर लैङ्गिक असमानता कम गर्ने उद्देश्य राखिएको छ। राजनीतिक तवरबाट सुरु भएको भए तापनि हाल महिला अधिकार, महिला सशक्तीकरण र समानता जस्ता विषय अन्तर्राष्ट्रिय महिला दिवसका विषय हुने गरेका छन्। यो दिवस सर्वप्रथम सन् १९०९ फेब्रुअरी २८ मा मनाइएको थियो। सन् १९१० मा महिलालाई मत हाल्ने अधिकार सुनिश्चित गर्ने उद्देश्यका साथ यसलाई अन्तर्राष्ट्रिय दर्जा प्रदान गरिएको थियो। सन् २०२१ मा आइपुग्दा विश्वभर ११३औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाइएको छ। यो दिवस मार्च महिनाभर नै मनाउने गरिएको छ। संयुक्त राज्य अमेरिकाको सोसलिस्ट पार्टीले २८ फेब्रुअरी १९०९ मा सर्वप्रथम महिला दिवसको आयोजना गरेको थियो। सोसलिस्ट पार्टीले सन् १९०८ को अन्तर्राष्ट्रिय महिला श्रमिकको आन्दोलनको स्मरणमा २८ फेब्रुअरी १९०९ का दिन महिला दिवस मनायो। यसपछि यो फेब्रुअरीको अन्तिम आइतबारको दिन मनाइन थालियो। सन् १९१० मा सोसलिस्ट इन्टरनेशनलको कोपेनहेगनमा सम्पन्न सम्मेलनमा यसलाई अन्तर्राष्ट्रिय दर्जा प्राप्त भयो। त्यस समय यसको प्रमुख ध्येय महिलालाई मताअधिकार दिनु थियो। त्यस समय महिलालाई मत दिने अधिकर कतिपय देशमा थिएन। यसरी महिला समानता र सशक्तीकरणका लागि यो दिवस विश्वभर नै मनाउँदै आइरहेको छ। यसरी विश्वव्यापी मनाउन थालिएको यो दिवसका कारण महिलाको सशक्तीकरणका क्षेत्रमा केही टेवा पु¥याए पनि महिलाले अझै आफ्नो अधिकार, न्याय र समानताका लागि भने आवाज बुलन्द गर्नुपर्ने नै देखिन्छ। कालिका खड्का/सुशील दर्नाल-रासस
धनगढीमा एक किशोरीमाथि सामूहिक बलात्कार धनगढी। कैलालीको धनगढीबाट एक किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा दुई किशोर पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर १० जुगेडाकी एक १३ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा १६ र १७ वर्षका दुई किशोर पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। घटना गएको १७ गते रातिको भएपनि प्रहरीमा ढिलोगरि उजुरी परेपछि उनीहरुलाई मंगलबार (हिजो) मात्रै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दले जानकारी दिए। डीएसपी चन्दका अनुसार पीडित पक्षबाट हिजो मौखिक उजुरी आउने वित्तिकै बलात्कार आरोपी दुई किशोरहरुलाई पक्राउ गरिएको हो। आरोपी पक्राउ परेपछि आज उनीहरुविरुद्ध जाहेरीसमेत दर्ता भएको डीएसपी चन्दले बताए। किशोरीको आजै स्वास्थ्य परीक्षणसमेत गरिएको छ। घटनाबारे अनुसन्धान प्रक्रिया अगाडि बढेको डीएसपी चन्दले बताए। आरोपी नाबालक भएकाले प्रहरीले उनीहरुको नाम सार्वजनिक गरेको छैन।
अमेरिकाबाट पार्सल आयो सात किलो गाँजा! काठमाडौं। अमेरिकाबाट चकलेट तथा बालबालिकाको खेलौना उल्लेख गरी आएको पार्सलमा गाँजा तस्करी हुने गरेको पाइएको छ। प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयमा आउने पार्सलको सूक्ष्म निगरानी गर्दा उक्त तथ्य फेला पारेको हो। पछिल्ला दुई छुट्टाछुट्टै पार्सल जाँच गर्दा एउटामा चार दशमलव पाँच किलो र अर्कोमा दुई दशमलव चार किलो गाँजा फेला परेको ब्युरोका प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए। उक्त घटनामा एक भारतीयसहित तीन जनालाई पक्राउ गरिएको छ। अमेरिकाबाट दुबई हुँदै नेपाल ल्याइएको चकलेट र बालबालिकाको खेलकुद सामग्री उल्लेख गरिएको पार्सलबाट चार दशमलव पाँच किलो गाँजा बरामद भएपछि उक्त पार्सल लिन आएका भारतको गुजरातका ३० वर्षीय निमेश अशोकभाइ र सर्लाहीको हरिहरपुरका २८ वर्षीय फैज आलम पक्राउ परेका हुन्। उनीहरूको साथबाट भारतीय अधार कार्ड र रु ८० हजार बरामद गरिएको छ। उनीहरू बस्दै आएको ठमेलको होटल खानतलासी गर्दा कोठामा एक लाख ४० हजार भारु बरामद गरिएको जोशीले जानकारी दिए। यस्तै अर्को घटनामा विमानस्थलमा यसैगरी अमेरिकाबाट आएको पार्सल जाँच गर्दा दुई दशमलव चार किलो गाँजा बरामद गरिएको छ। उक्त घटनामा संलग्न रहेको आरोपमा गोरखाका रुपक अर्याललाई पनि पक्राउ गरिएको उनले बताए। उनीहरूलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ अनुसार काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको जोशीले बताए। यसरी आएको गाँजा कसले कहाँ लैजान लागेका हुन् भन्ने अझै नखुलेको प्रहरीले जनाएको छ।
तिलोत्तमा नगरपालिकालाई ‘नो हर्न’ नगरपालिका घोषणा गरिँदै बुटवल। रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई ‘नो हर्न’ नगरपालिका घोषणा गर्ने तयारी गरिएको छ। नगरपालिकाले सञ्चालन गरेको हरियाली प्रवर्द्धन एवं सरसफाइ अभियानको सयौँ शृङ्खलाको अवसरमा यही चैत १ गते तिलोत्तमा नगरपालिकालाई ‘नो हर्न’ नगरपालिका घोषणा गर्न लागिएको हो। नगरपालिकाले २०७४ साउन ६ गते सुरु गरेको समुदायमा आधारित साप्ताहिक हरियाली प्रवर्द्धन एवं सरसफाइ अभियान चैत १ गते एक सयौँ शृङ्खला पुग्दैछ। नगरपालिकामा हुने ध्वनि प्रदूषणलाई नियन्त्रण गर्न त्यस्तो घोषणा गर्न लागिएको नगरप्रमुख रामकृष्ण खाणले जानकारी गराए। हरियाली प्रवर्द्धन एवं सरसफाइ अभियानको एक सयौँ शङ्खलाका अवसरमा नगरपालिकाले बिहीबारदेखि साताव्यापी विविध कार्यक्रमको तयारी गरेको छ। जसअन्तर्गत बिहीबार टेलिभिजन बहस कार्यक्रम, २६ गते विद्यालयस्तरीय वक्तृत्वकला तथा कला प्रदर्शन कार्यक्रम, २७ गते सरसफाइ तथा रक्तदान, २८ गते शैक्षिक सङ्घसंस्थाको परिसर तथा शौचालय सरसफाइ कार्यक्रम, २९ गते लक्षित समुदायमा कम्पोष्टबिन वितरण र ३० गते मानव साङ्लोसहित सिक्सलेन सडक सरसफाइ कार्यक्रम सञ्चालन गरिनेछ। त्यस्तै, मणिग्राम चोकमा निर्माण गरिएको सयौँ शृङ्खलाको स्मारक उद्घाटन तथा साँझ नगरपालिकाको कार्यालयमा दीपावली गरिने नगरप्रमुख खाणले बताए। अभियानको सयौँ शृङ्खला पुग्ने दिन चैत १ गते मुख्य कार्यक्रमको आयोजना गरिनेछ। जसमा झाँकी प्रदर्शन तथा सम्मान, नो हर्न नगरपालिका घोषणा तथा त्यसै दिनदेखि नगरपालिकामा उत्पादन हुने कुहिने र नकुहिने फोहोर अलग अलग उठाउन सुरु गरिनेछ। त्यसका लागि जनचेतना अभिवृद्धि गर्न सबै वडामा आफ्नो घर, आँगन, चोक, टोल, सडक, व्यावसायिक प्रतिष्ठान, कार्यालय तथा सार्वजनिक स्थानमा सघन सरसफाइ गर्न नगरवासीलाई अनुरोध गरिएको उपप्रमुख जागेश्वरीदेवी चौधरीले जानकारी गराए। नेपाल पत्रकार महासङ्घ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले बालमैत्री नगरपालिका र सरसफाइ अभियानका कारण तिलोत्तमा अरू नगरपालिकाभन्दा अगाडि रहेको दाबी गरे। नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत नारायण अर्याल र कार्यपालिका सदस्य सुरेन्द्र श्रीले हरियाली प्रवर्द्धन एवं सरसफाइ अभियानका बारेमा प्रस्ट्याएका थिए।
मेलम्चीको पानी वितरणका लागि विच्छाइएका पाइपबाट चुहावट काठमाडौँ। मेलम्ची खानेपानी वितरणका लागि काठमाडौँ उपत्यकामा बिछ्याइएका पाइपमा चुहावट भएको पाइएको छ। पछिल्लो एक दशकयता विच्छाइएका नयाँ पाइपमा चुहावट भएको पाइएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ। निर्देशनालयले एशियाली विकास बैंकको ऋण सहयोगमा सन् २०१३ देखि चक्रपथभित्र एक हजार १० किमी पाइप विच्छाएको थियो। नयाँ पाइपमा पनि अरु निकायले काम गर्दा क्षति पुगेकाले चुहावट हुन थालेको निर्देशनालयको सूचना अधिकारी चन्द्रकुमार पुन श्रेष्ठले बताए। ढल तथा सडक बनाउँदा, विद्युत् अण्डरग्राउण्ड गर्दा पाइपमा क्षति पुगिरहेकाले पनि सडकमा धेरै ठाउँमा चुहावट पाइएको उनले बताए। “पुरानो पाइपमा त चुहावट हुने नै भयो नयाँ पाइपमा पनि चुहावटको समस्या भइरहेको छ”, उनले भने। निर्देशनालयले यसअघि विच्छाइएको पाइपको परीक्षण गरिरहेको छ। नयाँ पाइपमा परीक्षण गर्दा ठाउँठाउँमा चुहावट पाइएको र ती ठाउँमा मर्मत गरेर पुनःपरीक्षण गरिने उनको भनाइ छ। “अन्तिम परीक्षणमा पनि समस्या नभएको पाइए मात्रै नयाँ पाइपबाट पानी पठाउन सकिनेछ”, उनले भने। नयाँ पाइप परीक्षणको क्रममा हुँदा हाल काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले पुरानो संरचनाबाट नै पानी वितरण गरिरहेको छ। उपत्यकामा झण्डै एक सय वर्ष पुरानो पाइप रहेकाले पनि पुराना पाइपमा बढी समस्या भइरहेको कार्यालयको भनाइ छ। पहिलो कम परिमाणमा पानी वितरण हुने गरेको तर मेलम्चीको पानी दैनिक १७ करोड लिटर आउँदा पाइपमा समस्या भएको हो। नयाँ पाइप परीक्षणका क्रममा भएकाले अहिले पुरानो पाइपबाटै पानी वितरण भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए। खासगरी ललितपुरको लगनखेल र आसपासका क्षेत्र, काठमाडौँमा पुरानो बस्ती क्षेत्रमा चुहावटको समस्या बढी छ। सरकारले गत महिनाबाट उपत्यकामा मेलम्चीको खानेपानी पुनः वितरण सुरु गरेको थियो। मेलम्चीको पानीको वितरण दुई वर्ष पहिले नै सुरु भए पनि बाढीका कारण धेरै संरचनामा क्षति पुगेकाले बर्सेनि हिउँद महिनामा मात्रै पानी वितरण भइरहेको छ।
श्रमिक महिलालाई छुँदैन महिला दिवसले राँझा। बाँके बैजनाथ गाउँपालिका–८ टिटिहिरियाका वुधी थारू प्रत्येक दिन कामको खोजीमा बिहानै नेपालगञ्जको रामवाग र आसपासको क्षेत्रमा पुग्छिन्। नेपालगञ्जको श्रमिक बजारमा उभिएर ज्यालादारी काम खोज्नु वुधीको दैनिकी हो। आज एक सय १३औँ अन्तर्राष्ट्रिय महिला दिवसको दिन पनि उनी साथीहरुसँगै कामको खोजीमा हुछिन्। “दिवस त ठूला मान्छेका लागि हो, हुनेखानेका लागि हो हामीलाई काम नै ठूलो हो, दिवस मनाएर के गर्ने ?”, नेपालगञ्जमा कामको पर्खाइमा रहेकी वुधीले भनिन्, “दिवस भनेर जुलुसमा गयो भने त घरमा केटाकेटी भोकै हुन्छन् त्यसैले दिवस नमनाउने।” सहरमा अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा प्रभातफेरि र सभाको तयारी भइरहँदा वुधी थारू जस्ता श्रमिक महिला कामको खोजीमा भौँतारिरहेकी थिइन्। उनीहरुलाई प्रत्येक वर्ष तामझामका साथ मनाइने अन्तर्राष्ट्रिय महिला दिवसले छुनसकेको छैन। बर्दियाको राजापुरबाट मजदुरी गर्न नेपालगञ्ज आएकी लक्ष्मी थारू भन्छिन्, “महिला दिवस मनाउन पाउने भाग्य भएको भए यहाँ किन काम खोज्दै हिँड्थ्यौँ, काम पाइयोस्, ज्याला पाइयोस् यही नै हाम्रो दिवस हो।” नेपालगञ्जमा कामको खोजीका लागि प्रत्येक दिन महिला पुरुष श्रमिक लाइन लाग्ने गर्दछन्। लाइनबाटै काम र ज्यालाको समझदारी भएपछि कामका लागि उनीहरु सम्बन्धित क्षेत्रमा जाने गर्दछन्। आज अन्तर्राष्ट्रिय महिला दिवस भए पनि मजदुर महिलाको सङ्ख्यामा कुनै कमी थिएन। “दिवसले खान लाउन दिँदैन, काम त खोज्नै पर्‍यो, खान बस्न पर्‍यो”, लक्ष्मीले भनिन्, “दिवस मनाउने मनाउनुहुन्छ, हामीलाई दिवस मनाउने फुर्सद छैन।” यो वर्ष अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)ले कामको पर्खाइमा रहेका श्रमिक महिलाको स्वास्थ्य परीक्षण तथा दिवसबारे नेपालगञ्जमा जानकारी गराएको छ। श्रमिक महिलाको हक अधिकारबारे जानकारी गराउनाका साथै निःशुल्क स्वास्थ्य परीक्षण गरी सेनेटरी प्याड र मास्क वितरण गरिएको जिफन्ट राष्ट्रिय कमिटी सदस्य पूर्ण केसीले जानकारी दिए। उनका अनुसार नेपालगञ्जमा एक सय बढी श्रमिक महिलालाई स्वास्थ्य र श्रम अधिकारका बारेमा परामर्श दिइएको हो। अखिल नेपाल महिला सङ्घकी केन्द्रीय सदस्य शान्ति ढकालले दिवसले वास्तविक श्रमिक महिलालाई समेट्न नसकेको स्वीकार गरिन्। दिवसलाई विना तयारी र औपचारिकतामुखी बनाइँदा पनि सम्बन्धित सरोकारवाला व्यक्ति नै छुट्ने गरेको उनको भनाइ छ। “यो कुनै दल, सङ्गठन वा व्यक्तिले चाहेर हुने कुरा होइन, वास्तविक श्रमिक महिलालाई दिवस मनाउन सक्ने वातावरणको लागि दीर्घकालीन सोचका साथ योजना हुनुपर्दछ”, ढकालले भनिन्, “अहिले स्थानीय सरकार, सामाजिक सङ्घसंस्था र राजनीतिक दलका भ्रातृ सङ्गठनले दिवसको मर्मविपरीत आफू अनुकूल कार्यक्रम गर्ने गरेका छन्।” मजदुर नेता पूर्णचन्द्र उपाध्यायले वर्षमा एकपटक मनाइने दिवसले वास्तविक श्रमिक महिलालाई नछुने बताउँछन्। उनले दीर्घकालीन सोचका साथ नीतिगतरुपमा श्रमिक महिलाको हकहितलाई समेटेर कार्यक्रम ल्याउन सकेमात्र दिवस मनाउनुको औचित्य हुने उल्लेख गरे। खजुरा गाउँपालिकाकी उपाध्यक्ष मञ्जु मल्लले आफूले चाहँदा चाहँदै पनि सबै श्रमिक महिलालाई दिवसमा समेट्न नसकेको बताइन्। उनले आर्थिक कारणले पनि महिला विभेदमा परेको भन्दै उत्पादनमूलक काममा जोडिन महिलालाई आग्रह गरिन्। महिलाका सवालमा गाउँपालिकाबाट विभिन्न कार्यक्रममा बजेट विनियोजन भए पनि श्रमिक महिलाका तर्फबाट माग भई नआएकाले उनीहरुका लागि छुट्टै कार्यक्रम बनाउन नसकेको उपाध्यक्ष मल्लको भनाइ छ। नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले वास्तविक श्रमिक महिलाहरु अझै पनि दिवसको अर्थ, महत्व र कार्यक्रमभन्दा बाहिर रहेको बताए। “श्रमिक महिलालाई रोजगारको सुनिश्चितता, श्रमको उचित पारिश्रमिक लगायतका विषयमा यो दिवसले बोल्नुपर्ने हो तर त्यहो हुन सकेको छैन”, श्रेष्ठले भनिन्, “सबै खाले श्रम गर्ने महिलाले श्रमको उचित मूल्य पाउनुपर्नेमा सरोकारवाला सबै पक्ष लाग्नु पर्दछ।” हिजोभन्दा आज महिला दिवसको महत्व बढ्दै गएकाले यसलाई औपचारिकतामा मात्र सीमित राख्न नहुने सरोकारवालाको भनाइ थियो।
काठमाडौंसहित देशका विभिन्न स्थानमा वर्षा काठमाडाैं। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। उक्त मौसमी प्रणालीको प्रभावका कारण देशभर बदली हुनाका साथै विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार अहिले देशभर बदली रहनाका साथै काठमाडौँ उपत्यकासहित विभिन्न स्थानमा हल्का वर्षा भइरहेको छ। कर्णाली प्रदेशको डोल्पासहित उच्च हिमाली भेगमा हल्का हिमपात भइरहेको उनले जानकारी दिए। “अहिले देशभर बदली भइरहेको छ, कतिपय उच्च हिमाली भूभागमा हिमपात हुनाका साथै उपत्यकामा पनि वर्षा भएको छ”, उनले भने। कास्की, पाल्पा र रुपन्देहीमा बिहान हल्का वर्षा भएको थियो। आज पहाडी र हिमाली क्षेत्रका भू-भागमा मौसम बदली रहनाका साथै पश्चिम तराईका क्षेत्रमा मौसम केही खुल्ने देखिएको मौसमविद् पौडेलले बताए। बदली र वर्षा भए पनि ठूलो बाढी र पहिराको सम्भावना भने नरहेको उनको भनाइ छ। महाशाखाकाका अनुसार दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनाका साथै पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। आज काठमाडौंको न्यूनतम तापक्रम १० र अधिकतम तापक्रम २६ डिग्री सेल्सियस रहेको छ।
सामाजिक सञ्जालमार्फत बढ्दै छ हिंसा काठमाडौँ। पछिल्लो समय सामाजिक सञ्जालबाट पीडा भोग्नेहरूको सङ्ख्या बढ्दै गएको देखिएको छ। गैरसरकारी संस्था महासङ्घ नेपालले मङ्गलबार आयोजना गरेको ‘सूचना प्रविधि र महिला अधिकारका सवाल’ विषयक अन्तरक्रियामा सञ्चारकर्मी बबिता बस्नेतले पछिल्लो समय सामाजिक सञ्जालबाट हिंसा हुने गरेको तथ्य सुनाइन्। उनका अनुसार फेसबुक म्यासेन्जरबाट सबैभन्दा बढी ६२ दशमलव ३ प्रतिशत हिंसामा पर्ने गरेको देखिएको छ। त्यस्तै, फेसबुकबाट ६१ दशमलव २ प्रतिशत हिंसा हुने गरेको छ। सामाजिक सञ्जाल ट्विटरबाट १५ दशमलव ३ प्रतिशत र ह्वाट्सएपमा १२ दशमलव ८ प्रतिशत र भाइबरमा ११ दशमलव ७ प्रतिशत हिंसा हुने गरेको छ। त्यसैगरी, इमेलमार्फत ६ प्रतिशत र इन्स्टाग्राममार्फत ४ दशमलव ६ प्रतिशत हिंसा हुने गरेको छ। एकै व्यक्तिले फरकफरक सामाजिक सञ्जाल प्रयोग गरेर हिंसा गर्ने गरेको बताइएको छ। सञ्चारकर्मी बस्नेतले नेपाल पुलिसको साइबर ब्यूरोमा परेको उजुरीलाई आधार मानेकी छन्। उनका अनुसार आर्थिक वर्ष २०७७/७८ मा जम्मा तीन हजार चार सय ५१ उजुरी परेको छ। सोही आधारमा अन्य तथ्याङ्क सङ्कलन गरिएको बस्नेतको भनाइ छ। त्यसैगरी, सबैभन्दा बढी बागमती प्रदेशमा सामाजिक सञ्जालमार्फत हिंसा हुने गरेको अध्ययनले देखाएको छ। विसं २०७८ साउनदेखि कात्तिकसम्मको तथ्याङ्क हेर्ने हो भने नेपाल पुलिसको साइबर ब्यूरोमा एक सय ३९ उजुरी परेको छ। त्यसैगरी, लुम्बिनीमा एक सय ३५, गण्डकीमा एक सय १३, कोशी प्रदेशमा ७३, मधेस प्रदेशमा ५२, कर्णाली प्रदेशमा ४१ र सुदूरपश्चिमा सबैभन्दा कम २७ उजुरी परेको छ। सामाजिक सञ्जालहरुको प्रयोगमा तथा मोबाइल गेमहरु जस्ता कुरामा अत्यधिक लतमा परेका कारण नै हिंसा बढ्ने गरेको छ। सामाजिक सञ्जालको प्रयोगमा अपनाउनुपर्ने सुरक्षा तथा सावधानीको ज्ञान नहुँदा डिजिटल ठगीमा पर्नु अर्को चुनौती रहेको छ। हिंसाबाट सुरक्षित हुनका लागि प्रविधिसम्बन्धी शिक्षा आवश्यक रहेको उपप्राध्यापक रुकमिनी महर्जले बताइन्। उनले सहभागतितामूलक एवं लैङ्गिकमैत्री सूचना प्रविधि हुनुपर्ने र नीति निर्माण पनि सहभागीतामैत्री हुनुपर्नेमा जोड दिइन्। एआइएनका अध्यक्ष भगवान श्रेष्ठले सबै मिलेर हिंसासम्बन्धी चुनौतीको सामना गर्नका लागि एकजुट हुनुपर्ने बताए। उनले राज्य, समाज र घर सबैको भूमिकालाई दृष्टिगत गर्दै ध्यान दिनुपर्ने बताए। कार्यक्रमा राष्ट्रिय समावेशी आयोजका सदस्य विष्णुमाया ओझाले प्राविधिकलाई दोष दिनेभन्दा पनि यसको सही सदुपयोग गरी सञ्चालन गर्नुपर्नेमा जोड दिइन्। सूचना प्रविधिसम्बन्धी सचेतनाको खाँचो औँल्याइन्। – रासस
जीवन रक्षाका लागि कान्छी प्राध्यापकको अपिल काठमाडौँ। आज ८ मार्च विश्वभर अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहेका बेला यसै अवसर पारेर एक प्राध्यापकले आफ्नो जीवन रक्षाका लागि सार्वजनिक अपिल गएकी छन्। स्तन, डिम्बाशय, पेट, कलेजो र फोक्सोको क्यान्सरका विरुद्ध सात वर्षदेखि संघर्षरत प्रा डा उर्मिला प्याकुरेलले थप उपचारका लागि खर्च धान्न सक्ने अवस्था नरहेको भन्दै सहयोगका लागि सार्वजनिक अपिल गरेकी हुन्। उनी क्यान्सर लागेकै अवस्थामा अध्ययन अनुसन्धानलाई अगाडि बढाएर ३५ वर्षको उमेरमा विद्यावारिधि (पिएचडी) पूरा गरी ४१ वर्षको उमेरमा गत वर्ष त्रिभुवन विश्वविद्यालयको केन्द्रीय गणित विभागमा सबैभन्दा कान्छी उमेरकी प्राध्यापक बनेकी हुन्। प्याकुरेलले हालसम्मको उपचार खर्च अनुसन्धानबाटै जुटाउँदै आएकी छन्। सिन्धुपाल्चोकको कालिका गाउँमा सामान्य किसान परिवारकी प्राध्यापक प्याकुरेलले नेपाल र जर्मनीमा उपचारका क्रममा रू साढे चार करोडभन्दा बढी खर्च गरिसकेकी छन्। तर यति गर्दा पनि हालसम्म क्यान्सर पूर्णरुपमा निको भएको छैन। पूर्णरुपले क्यान्सर निको नभएपछि उनले अन्तिम विकल्पका रुपमा चिकित्सकको सुझावका आधारमा ‘इम्युनो थेरापी’ सुरु गरेकी छन्। उनले हालसम्म ६४ चरणको किमो थेरापी, रेडियो थेरापीलगायतका उपचार गरिसकेकी छन्। उनका अनुसार इम्युनो थेरापी कम्तीमा एक वर्षसम्म गर्नुपर्छ। र, एक चरणको उपचारका लागि २१ दिनमा करिब रू चार लाख लाग्छ। “अहिले अनुसन्धानका लागि फेलोसिप पनि नपाएकाले खर्च जुटाउन गाह्रो भयो”, प्रा प्याकुरेलले भनिन्, “सकेसम्म अरुको सहयोग लिने चाहना नभए पनि अब बाध्यता आइलागेको छ।” उनले महिलामा मात्र लाग्ने र निको हुने स्तन र पाठेघर तथा डिम्बाशयको क्यान्सरको पनि सुलभ उपचार नभएको गुनासो गरिन्। उनको अनुसन्धान गणितको व्यावहारिक प्रयोगबाट नेपालमा बढ्दो ट्राफिक समस्या समाधानमा केन्द्रित छ। उनी मधुश्री नामबाट साहित्य रचना पनि गर्छिन्। उनको विद्यावारिधिका निर्देशक त्रिभुवन विश्वविद्यालय गणित केन्द्रीय विभागका अध्यक्ष प्रा डा टङ्कनाथ धमलाले प्रा डा प्याकुरेल एक उत्कृष्ट अनुसन्धाता रहेको र उनका कृति र अन्तर्राष्ट्रिय सञ्जाल निकै सफल रहेको बताए। विद्यार्थीलाई सिकाउन र सधैँ अनुसन्धान गर्न उत्सुक र सक्षम रहने प्रा प्याकुरेल अहिले पनि ६ जना विद्यावारिधि र अरु स्नातकोत्तर तहका अनुसन्धानकर्ताहरुको शोध निर्देशक हुन्। प्रा डा धमलाले लागनशीलतामा अथक र नयाँ नयाँ अवधारणकी धनी प्रा प्याकुरेल लामो समयदेखि उपचारमा रहँदा पनि निडर, साहसी, आत्मविश्वासी युवा वैज्ञानिक रहेको भन्दै सहयोगका लागि अनुरोध पनि गरे। त्यस्तै, तीन वर्षदेखि प्रा प्याकुरेलको उपचारमा संलग्न प्रा डा राजेन्द्र बरालले प्रा प्याकुरेललाई आत्मविश्वास र उपचारले बचाएको उल्लेख गरे। अहिलेको उपचार भने उनको अन्तिम विकल्प रहेको र यो निकै महँगो भएकाले सहयोगको अपिल गरे। प्रा डा प्याकुरेलका भाइ राजेन्द्र प्याकुरेलले निम्नवर्गीय परिवारको सदस्य भएर पनि दिदीले सानो उमेरमा नै शैक्षिक क्षेत्रमा उच्चतम सफलता प्राप्त गरेको र उनी परिवारको मात्र नभएर राष्ट्रकै गौरव भएको बताए। सात वर्षदेखि क्यान्सरलाई जितिरहेकी डा प्याकुरेलको उपचारका लागि अन्तिम विकल्पका रुपमा इम्युनोथेरापी मात्र रहेको र उपचार अत्यन्त महँगो भएकाले आफूहरु सहयोगको अपिल गर्न बाध्य भएको उनको भनाइ छ। उनलाई सहयोग गर्नका लागि काठमाडौँको तीनकुनेस्थित सिद्धार्थ बैंकको उर्मिला प्याकुरेलका नाममा रहेको खाता नम्बर ०१७१५१६२७२१ मा रकम जम्मा गर्न सकिन्छ। – रासस
नेपालको इतिहासमा पहिलोपटक महिला क्रु–मेम्बरहरुले मात्रै अन्तर्राष्ट्रिय उडान भरे काठमाडौँ। नेपालको इतिहासमा पहिलो पटक नेपाली महिला पाइलट समुहले अन्तर्राष्ट्रिय उडान भरेर रेकर्ड राखेका छन्। अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नेपाल वायुसेवा निगमले युएईका लागि अहिले उडेको आफनो बिमानका सबै क्रु मेम्बर महिलालाई मात्रै राखेर अन्तर्राष्ट्रिय उडान भरेका हुन्। यूएईबाट काठमाडौंका लागि आज बिहान उडान भरेको नेपाल एयरलाइन्सको एयर बस ३२० जहासका सबै क्रू मेम्बर महिला मात्रै राखिएको छ। सो जहाज बुधबार बिहान ९ बजेर ५५ मिनेट जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने निगमले जनाएको छ। नाइन एन एकेएक्स जहाजको कमाण्ड पाइलट भावना गिरी पन्तले गरेकी छिन भने को–पाइलटमा श्रृजना राउत र एयरहोस्टेसहरुमा बास्ना राना, पुरअन्जक महर्जन, संगिता केसी र अनिशा प्रजापति रहेका छन्। यसअघि दुबई काठमाडाैंका लागि यसअघि पनि दुई महिला पाइलटले अन्तर्राष्ट्रिय उडान भरेका थिए। त सबै क्रु–मेम्बर महिला मात्रै भएर अन्तर्राष्टिय उडान भरेको भने यो पहिलो पटक हो।
महिला विभेदविरुद्ध नारी जागरण आजको आवश्यकता : सभापति देउवा काठमाडौँ। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले महिलामाथि हुने विभेद र हिंसाविरुद्ध नारी जागरण आजको आवश्यकता भएको बताएका छन्। एक सय १३औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण महिला दिदी बहिनीमा शुभकामना व्यक्त गर्दै उनले दिवस मनाइरहेको सन्दर्भमा नेपाल अहिले पनि महिलामाथि हुने विभेद र हिंसाका घटनाबाट मुक्त हुन नसकेको उल्लेख गरेका छन्। “सहरदेखि दूरदराजका गाउँमा महिला आज पनि शोषण, दमन र उत्पीडनबाट आक्रान्त छन्। महिलामाथि हुने विभेद र हिंसाविरुद्ध नारी जागरण आजको आवश्यकता हो”, सभापति देउवाको शुभकामना सन्देशमा उल्लेख छ। हिंसा लोकतन्त्र र जनताको सम्प्रभुतामाथिको सबैभन्दा ठूलो खतरा भएको उल्लेख गर्दै सभापति देउवाले हिंसा मुलुकको आर्थिक प्रगतिको सबैभन्दा ठूलो बाधकसमेत भएको र सामाजिक एकता तथा सद्भावलाई कमजोर बनाउने कारण पनि भएको उल्लेख गरे। कांग्रेस सबै किसिमका हिंसाको अन्त्य चाहन्छ भन्दै उनले महिलाविरुद्ध हुने सबैखाले हिंसाको अन्त्यका लागि आम नागरिकलाई जागरुक गराउन दिवसले सहयोग पुर्‍याउने  विश्वास व्यक्त गरेका छन्। सभापति देउवाले नेपालमा लोकतन्त्रको स्थापना र पुनःस्थापनाका हरेक आन्दोलनमा अग्रणी स्थानमा उभिएर कैयन महिला दिदीबहिनीले आफ्नो प्राणको आहुति दिएको उल्लेख गर्दै उनीहरुप्रति उच्च सम्मान प्रकट गरेका छन्। आगामी दिनमा पनि स्थापित लोकतान्त्रिक मूल्य मान्यताको संरक्षण र सम्बर्धनका लागि महिला दिदी बहिनीको अझ महत्वपूर्ण र निर्णायक भूमिका रहने विश्वास लिँदै उनले दिवसका अवसरमा सम्पूर्ण महिला दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन्।
नारी दिवसमा विभिन्न प्रचलन: फूल साटासाट गर्नेदेखि मार्चभरी नै मनाउने चलनसम्म काठमाडौं। आज मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ। संयुक्त राष्ट्र संघवाट ‘Digitall: Innovation and Technology for Gender Equality’ नारा तय भएको छ। नेपालमा भने ‘लैङ्गिक समनताका लागि बलियो आधार, सिर्जनात्मक प्रबिधिमा महिलाको पहुँच’’ भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रम गरी याे दिवस मनाइँदै छ। अन्तर्राष्ट्रिय महिला दिवसमा महिलाहरू सामाजिक चेतना विकासमा जोड दिने, राजनीतिक पहुँच बढाउने, न्यायलयमा समानताको हक खोज्ने आर्थिक र उत्पादनको क्षेत्रमा भागीदारी हुने, सम्मानजक श्रम र श्रम मूल्यमा समानता कायम हुनुपर्ने एजेन्डासहित हरेक वर्ष संसारभर विभिन्न कार्यक्रम गरेर मार्च ८ मा अन्तर्राष्ट्रिय महिला दिवस मनाउने गरिन्छ। नेपालमा जस्तै विश्भरीका धेरैजसो देशले यस दिन सार्वजनिक बिदा दिने गरेका छन्। कतिपय देशले भने नारी दिवस फरक ढ‌गले मनाउने गरेका छन्, जसको आफ्नै मौलिकता झल्किन्छ। रुसमा यस दिवसकाे अघिल्लो दिनदेखि पछिल्ला दिनहरुमा फूलको व्यापार अन्य दिनभन्दा दोब्बर हुन्छ। मानौं, भ्यालेन्टाइन डेलाई झल्को दिनेगरी फूल एक अर्कालाई दिएर नारी दिवस मनाइन्छ। इटलीमा भने यो दिन पहेँलो रङको फूल एकअर्कालाई दिएर मनाइन्छ। यो परम्परा दोस्रो विश्व युद्धपछि रोमबाट थालिएको ठानिन्छ। अमेरिकामा मार्च ८ लाई मात्र होइन, मार्चभर नै महिलाको ऐतिहासिक महिना मानिन्छ। चीनमा भने नेपालमा जस्तै मार्च ८ मा महिलाहरूलाई आधा दिन बिदा दिइन्छ, तर धेरै रोजगारदाताले आफ्ना महिला कर्मचारीलाई आधा दिन बिदा दिँदैनन्। चीनमा भने पछिल्लो समय रोजगारदाता कम्पनीहरुलाई राज्यले क्रमश: बिदा दिन बाध्य गराउँदै छ।
आज अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस : यसरी सुरु भयो महिला दिवस काठमाडौं। आज मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ। संयुक्त राष्ट्र संघवाट ‘Digitall: Innovation and Technology for Gender Equality’ नारा तय भएको छ। नेपालमा भने ‘लैङ्गिक समनताका लागि बलियो आधार, सिर्जनात्मक प्रबिधिमा महिलाको पहुँच’’ भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रम गरी याे दिवस मनाइँदै छ। अन्तर्राष्ट्रिय महिला दिवसमा महिलाहरू सामाजिक चेतना विकासमा जोड दिने, राजनीतिक पहुँच बढाउने, न्यायलयमा समानताको हक खोज्ने आर्थिक र उत्पादनको क्षेत्रमा भागीदारी हुने, सम्मानजक श्रम र श्रम मूल्यमा समानता कायम हुनुपर्ने एजेन्डासहित हरेक वर्ष संसारभर विभिन्न कार्यक्रम गरेर मार्च ८ मा अन्तर्राष्ट्रिय महिला दिवस मनाउने गरिन्छ। धेरैजसो देशले यस दिन सार्वजनिक बिदा पनि दिने गरेकाे छ । नेपालमा पनि बिदा दिइने गरेकाे छ। कसरी सुरु भयो नारी दिवस ? सन १९०८ मो न्यूयोर्क सिटीमा १५ हजार महिलाले सामूहिक रुपमा नै काम गर्ने समय थोरै हुनुपर्ने, राम्रो समान ज्याला दिनुपर्ने र मतदानको अधिकार हुनुपर्ने मागसहित वृहत र्‍यालीमार्फत महिला आन्दोलन गरेका थिए। आन्दोलनको माग सम्बोधनसहित त्यसको एक वर्षपछि अमेरिकाको तत्कालीन समाजवादी पार्टीले पहिलो पटक अमेरिकामा राष्ट्रिय महिला दिवस घोषणा गरेको थियो। तर, अमेरिकामा मात्रै होइन, यसलाई अन्तर्राष्ट्रिय दिवस बनाउनुपर्ने भन्दै सुरुमा नारीवादी नेतृ क्लारा जेट्किनले बहस सुरु गरिन्। सन १९१० मा कोपनहेगनमा भएको कामकाजी महिलाको अन्तर्राष्ट्रिय सम्मेलनमा उनले यो विषयलाई औपचारिक रुपमा प्रवेश गराइन्, जुन सम्मेलनमा १७ देशका १०० भन्दा बढी महिला नेतृहरुको सहभागीता रहेको थियो । जेट्किनको यो प्रस्तावमा सहभागी सबै राष्ट्रका महिलाहरुले सहमति जनाए। सो सम्मेलनपछि पहिलो पटक सन १९११ मा अन्तर्राष्ट्रिय महिला दिवसको रुपमा अस्ट्रिया, जर्मनी, डेनमार्क र स्विटजरल्यान्डामा औपचारिक रुपमा नै मनाउन सुरु गरियाे। क्रमश: अन्य देशले पनि यस दिनलाई अन्तर्राष्ट्रिय महिला दिवसको रुपमा मनाउन सुरु गरे। यो आ-आफनो देशअनुसार मनाउने चलन क्रमश: बढ्दै गयो। सन १९१७ मा भएको युद्धकालीन आन्दोलनमा रुसी महिलाहरूले ‘रोटी र शान्ति’ को माग नगर्दासम्म यसले औपचारिकता पाएको थिएन। सो आन्दोलनले महिला आन्दोलनलाई झनै उचाइमा लगिदियो। सो महिला आन्दोलनको चार दिनपछि रुसका तत्कालीन सम्राट पद त्याग्न बाध्य भए र त्यहाँको अस्थायी सरकारले महिलालाई मतदानको अधिकार दियो। संयुक्त राष्ट्रसङ्घले सन् १९७५ मा यो दिवस मनाउन थालेपछि मात्र बल्ल यसले विश्वभरका लागि आधिकारिक मान्यता पायो र राष्ट्र संघका सबै सदस्यले यसलाई संसारभर मनाउन थाले।
आजको मौसम: कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा वर्षाकाे संभावना काठमाडौं। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। उता, देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। यसैगरी, राती भने देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन रचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
नहरमा डुबेर कोहलपुरमा दुई जनाको मृत्यु बाँके । कोहलपुर नगरपालिका-१३ बन्दास्थित नहरमा नुहाउने क्रममा डुबेर मंगलबार दिउँसो २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा सोही नगरपालिका-१२ बस्ने १५ वर्षीय अनिल भट्टराई र १५ वर्षीय मनसुन बराल रहेका छन्। नुहाउने क्रममा डुबेर बेपत्ता भएको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूको उद्धार गरी मेडिकल कलेज कोहलपुर पठाइएकोमा उपचारको क्रममा दुबैजनाको मृत्यु भएको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ।
चिकित्सा शिक्षा आयोगद्वारा विभिन्न कलेजलाई एमबिबिएस कोटा निर्धारण काठमाडौं। चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको विभिन्न स्नातक तहतर्फको कोटा निर्धारण गरेको छ। आयोगको कार्यकारी समितिको बैठकले शिक्षण अस्पताल\कलेजका लागि स्नातक तहको कोटा सङ्ख्या निर्धारण गरेको हो। आयोगले विभिन्न २१ वटा शिक्षण अस्पताल\कलेजको एमबिबिएसका लागि एक हजार आठ सय ९५ कोटा निर्धारण गरेको आयोगका सदस्य सचिव डा भोजराज काफ्लेले जानकारी दिए। उनका अनुसार एक सय जना कोटाका दरले १७ शिक्षण अस्पतालका लागि बाँडफाँट गरिएको छ। विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विराट मेडिकल कलेज, चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्स टिचिङ अस्पताल, गण्डकी मेडिकल कलेज, काठमाडाँै मेडिकल कलेज, किष्ट मेडिकल कलेज, केयु स्कुल अफ मेडिकल साइन्स, लुम्बिनी मेडिकल कलेजले एक सय जनाको कोटा एमबिबिएस पाएका छन्। यस्तै महाराजगञ्ज मेडिकल क्याम्पस, मणिपाल कलेज अफ मेडिकल साइन्स, नेसनल मेडिकल कलेज, नेपाल मेडिकल कलेज, नेपाल आर्मी स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेपालगञ्ज मेडिकल कलेज, नोबेल मेडिकल कलेज र युनिभर्सल मेडिकल कलेज अफ साइन्सेजले पनि एक सय जना एमबिबिएस पढाउने कोटा पाएका छन्। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ६५ कोटा, देवदह मेडिकल कलेज एण्ड रिसर्च इन्स्टिच्युट र जानकी मेडिकल कलेज ५०\५० कोटा तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले ३० कोटा पाएका छन्।
आमाका नामबाट नागरिकता नपाउने समस्या समाधान गर्न लागि पर्छुः राष्ट्रियसभा उपाध्यक्ष अर्याल काठमाडौं। राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले आमाका नामबाट नागरिकता नपाउनेलगायत नागरिकता समस्या समाधान गर्न लागि पर्ने प्रतिबद्धता जनाएकी छन्। एक सय १३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा महिला, कानून र विकास मञ्च एवं इक्वालिटी नाउले आज यहाँ आयोजना गरेको ‘मबाट महिलावाद’ विषयक कार्यक्रममा उन्ले संविधानमा व्यवस्था गरेर पनि आमाका नामबाट नागरिकता नपाएको विषयलाई आफूले गम्भीररूपमा लिएको बताइन्। साइबर अपराधका उजुरी काठमाडौँमा मात्र दर्ता हुँदा समस्या आएको गुनासा धेरै जिल्लाबाट आएको उल्लेख गर्दै उनले गृहमन्त्रालयको ध्यानाकर्षण गराउँदै सहजताको व्यवस्था गराउन लागिपर्ने बताइन्। प्रविधिको प्रयोगले महिला नै बढी पीडित भएका घटना आएकाले यसमा सजगता अपनाउन पनि उनले आग्रह गरिन्। महिला हिंसाका घटनामा महिला दर्‍हो भए कसैको केही नचल्ने अनुभव सुनाउँदै उपाध्यक्ष अर्यालले महिलाबाट पुरुषलाई पनि हिंसा भएका घटना आउन थालेकाले कसैप्रति पनि हिंसा नहुने वातावरण बनाउनुपर्नेमा जोड दिइन्। कार्यक्रममा मञ्चका अधिवक्ता नेहा गुरुङले महिलाले आफू सुरक्षित हुन कानूनी ज्ञान राख्नुपर्नेमा जोड दिइन्। कानूनकी विद्यार्थी यशोदा चन्दले प्रविधिले निम्त्याएको विकृति विषयमा कविता पाठ गरेकी थिइन्। प्रविधिले महिला, किशोरी र बालिकामा पारेको नकारात्मक प्रभावका विषयमा सचेतनामूलक नाटक पनि सो अवसरमा प्रस्तुत गरिएको थियो। आठ मार्चका अवसरमा बुधबार विश्वभर ‘लैङ्गिक समानताको बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ नाराका साथ ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइँदै छ। यस अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलगायतले विभिन्न कार्यक्रम आयोजना गरेको जनाइएको छ।
बुधबार सय जना महिलालाई चन्द्रागिरिको टिकट २ सयमै काठमाडौं। चन्द्रागिरि केबलकार प्रालिले भोलि बुधबार १ सय जना महिला यात्रुलाई २ सय रुपैयाँमै केबलकारको टिकट उपलब्ध गराउने भएको छ। ८ मार्चका दिन पर्ने अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारी कम्पनीले यस्तो घोषणा गरेको हो। कम्पनीकाअनुसार सर्वप्रथम टिकट लिने १ सय जना महिलाले यो अफर पाउने छन्। महिला दिवसको अवसर पारी विभिन्न व्यावसायिक संघसंस्थाले यस्तो छुट अफर ल्याउने गरेका छन्।
विदुरमा ‘बलियो महिला अभियान’ सुरू, महिलालाई उद्यमशील बनाइने काठमाडौं। महिलाहरूलाई स्वरोजगार बनाउने उद्देश्यले नुवाकोटको विदुर नगरपालिकामा ‘बलियो महिला अभियान’ सुरु गरिएको छ। बलियो नेपाल संस्था र विदुर नगरपालिकाले उक्त कार्यक्रम आयोजना गरेको हो। “बलियो महिला” नामक चार दिने कार्यक्रमको उद्घाटनमा नगरपालिकाका मेयर राजन श्रेष्ठ, उप-मेयर प्रभा बोगटी र प्रमुख प्रशासकिय अधिकृत विनोद कुमार खनालको उपस्थिति रहेको थियो। कार्यक्रममा करिब १५ जना उद्यमी महिलाहरुलाई स्वच्छ पौष्टिक र फोर्टीफाईड खाद्य पदार्थ प्रशोधनक साथै वित्तीय तथा बिमा सक्षारता सम्बन्धि तालिम दिइएको थियो। महिलाहरुलाई मस्यौरा, कोदोरफापर केक, फापर निम्की, कोदो हलुवा, अदुवा क्यान्डी जस्ता विभिन्न पौष्टिक खाद्य पदार्थहरुको उत्पादन विधि, सोको लेबलिंग र प्याकेजिंग समबन्धि सिकाइएको थियो। उक्त कार्यक्रममा मेयर श्रेष्ठलेबिदुर नगरपालिकाको स्थानीय श्रोत प्रयोग गरेर स्वच्छ र पौष्टिक खाद्य पदार्थ उत्पादन गर्न तथा त्यसलाई बिक्रीवितरण गर्नको लागि पालिकाले समेत सहजीकरण एवम् समन्वय गर्ने बताएका थिए। नगरपालिकाले आगामी दिनमा पनि वडाहरुमा सीपमूलक तालिमहरु संचालन गर्ने समेत जानकारी गराए। “महिला उद्यमी भए समाज, गाउँ र राष्ट्र आर्थिक दृष्टिले बलियो र सबल बन्ने र यो अभियान महिलाहरूका लागि ठूलो अवसर भएको” उपमेयर बोगटीको भनाई रहेको छ। सोही कार्यक्रममा बलियो नेपालका प्रमुख कार्यकारी अधिकृत डा. अतुल उपाध्यायले “जब सम्म हरेक महिला ससक्त र आत्मनिर्भर हुन सक्दैन तब सम्म देश बलियो बन्न सक्दैन” भन्ने कुरालाई आत्मसात गर्दै यस तालिमद्वारा महिलाहरुमा उद्यमसिलता बढ्दै जाने र आयआर्जनको स्रोत समेत सिर्जना हुने कुरा बताए। तालिममा प्राप्त सीपलाई व्यवहारमा उतार्ने गरी आफूहरू तालिममा सहभागी भएको महिलाहरूले बताए। चार दिनसम्म सञ्चालन भएको सिपमुलक तालिम लक्षित् वर्गका स्थानीय महिलाहरुलाई स्थानीय स्रोत प्रयोग गरेर विभिन्न खाद्य पदार्थहरु जस्तै केक, मस्यौरा, लिटो, अदुवा क्यान्डी बनाउन सिकाई एउटा उद्यमी महिला बनाई देशलाई बलियो नेपाल बनाउने उदेश्यले सञ्चालन गरिएको थियो।
दार्चुलामा जिप दुर्घटना, एक जनाको मृत्यु धनगढी। दार्चुलामा जिप दुर्घटना भएको छ। जिप दुर्घटनामा परेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएकी भारतको पिथौरागढ जिल्लाको धार्चुला सिमखोलाकी ६० वर्षीया कालीदेवी नेगीको जिल्ला अस्पताल दार्चुलामा उपचारका मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका अन्य तीन जनालाई उपचारका लागि भारतको पिथौरागढ रेफर गरिएको दार्चुलाका प्रहरी नायब उपरीक्षक ९डीएसपी० तर्कराज पाण्डेयले बताए। आज बिहान मधेस प्रदेश ०३–००–०३४० नम्बरको जिप महाकाली नगरपालिका–४ बाङ्गाबगर खानेपानी ट्याङ्की नजिक लास्कु खोलामा खसेको थियो । उनीहरू डुङरी मन्दिरमा पूजापाठ गर्न आएको बुझिएको छ। जिप दुर्घटनामा महाकाली नगरपालिका–२ बुढिचौराका २४ वर्षीय जिप चालक मोहनसिंह लोथ्याल, भारतीय नागरिक ७ वर्षीया विमलादेवी नेगी, ५५ वर्षीय मख्खनराम नेगी, ६ वर्षीया किरणकुमारी आग्री, ३८ वर्षीय शान्तिदेवी नेगी, वर्ष ४७ का दिवान आग्री, ७ वर्षीय जोतविरसिंह कुवँर, २७ वर्षीया अन्जुदेवी कुवँर र ५ वर्षीय गुरुजोत सरदार घाइते भएका छन्। मख्खनराम नेगी, किरण कुमारी आग्री र ७ वर्षीया बालिका विमलादेवी नेगीलाई थप उपचारको लागि भारतको पिथौरागढ रेफर गरिएको छ। अन्य घाइतेहरुको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ। जिपमा चालकसहित १० जना सवार रहेका थिए।
बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई सुरक्षा दिन गृहमन्त्रालयको सर्कुलर काठमाडौं। गृहमन्त्रालयले बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई सुरक्षा दिन देशभरका प्रमुख जिल्ला अधिकारीलाई सर्कुलर जारी गरेको छ। पछिल्लो समय बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि आक्रमण तथा दुर्व्यवहारका घटना हुन थालेपछि गृहमन्त्रालयले देशभरका ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई उक्त निर्देशन दिएको हो। बैंक तथा वित्तीय संस्थाका कर्मचारीको सुरक्षामा अलर्ट रहन मन्त्रालयले निर्देशन दिएको हो। पछिल्लो समयमा बैंक तथा वित्तीय संस्था र लघुवित्त विरुद्ध आन्दोलन जारी छ भने केहीअघि जाजरकोटमा लघुवित्तका कर्मचारीमाथि कालोमोसो दलिएको घटना सार्वजनिक भएको थियो।
कोरियामा सीप सिकेर नेपालमा उद्यम नवलपुर। वैदेशिक रोजगारका लागि दैनिक हजारौँको सङ्ख्यामा नेपालीहरु विदेश जान्छन्। वैदेशिक रोजगारमा गएकामध्ये निकै कमले मात्रै त्यहाँ आफूले सिकेको सीप नेपाल फर्किएर प्रयोग गर्छन्। वैदेशिक रोजगारका क्रममा १५ वर्ष दक्षिण कोरिया बसी फकेका इभान गिरीले अहिले फ्रोजन मःमःको व्यवसाय सुरु गरेका छन्। उनले यसरी बनाएको मःमः रेष्टुराँ, होटल, क्यान्टिन लगायतमा बिक्री गर्दै आएका छन्। उनी  यतिबेला नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा सुरु भएको प्रथम गण्डकी औद्योगिक व्यापार मेलामा आफ्नो उत्पादनको बजारीकरणमा खटिएका छन्। चितवनको भरतपुर–५ तोरीखेतका गिरी कोरियामा छँदा मासिक रू तीन लाख आम्दानी गर्थे। गिरीले आफू उद्यमी मात्रै बन्नुभएन कम्पनीमा आठ जनालाई रोजगार पनि दिएका छन्। भरतपुर–५ शान्तिचोकमा ‘उरी मःमः’ कम्पनी सञ्चालन गरेका छन्। कोरियन भाषाको ‘उरी’को अर्थ हाम्रो भएको उनले बताए। “हामीले स्वचालित मेसिनबाट चिकेन, बफ र भेज मःम उत्पादन गरेर विभिन्न डिपार्टमेन्ट स्टोर्स, रेष्टुराँ, होटल तथा क्यान्टिनमा बिक्री गरिरहेका छौँ”, गिरीले भने, “रू बीस लाख लगानी गरी सुरु गरेको कम्पनीमा अहिले लगानी रू एक करोड पुगेको छ।” कोरियामा छँदा खाद्य उद्योगमा काम गरेका उनले नेपालमै केही गर्ने उद्देश्यले पाँच वर्षअघि फकेका थिए। सन् २०१८ मा नेपाल फर्किएपछि उनले कम्पनी सञ्चालनको प्रक्रिया सुरु गरेका थिए। सुरुमा गिरी दम्पतीले मात्रै कम्पनी सञ्चालन गर्नुभएको थियो भने पछि लगानी बढ्दै जाँदा कर्मचारी पनि थपिएको उनको भनाइ छ। कोरियन प्रविधि प्रयोग गरी उत्पादन गरिएको मःम फ्रोजन गरी होलसेल तथा खुद्रा बिक्री गर्दै आएको गिरीले बताए। “मेसिनबाट उत्पादन हुने मःम फ्रोजनका लागि डिफ्रिजमा राख्नुपर्छ । छिट्टै फ्रोजन भएको मःम राम्रो हुन्छ”, गिरीले भने। “फ्रोजन मःमबारे आम उपभोक्तामा गलत धारणा भएका कारण कतिपय होटल, रेष्टुराँ तथा क्यान्टिनहरुले हाम्रो उत्पादन लुकाएर बिक्री गर्ने गर्नुभएको छ”, गिरीले भने, “हाम्रो मःम ग्राहकवर्गले मन पराउनुभएको छ, तर रेष्टुराँहरुले फ्रोजन मःम हो भनेर बिक्री गर्नसक्नुभएको छैन।” उनले कम्पनीसँग दैनिक पाँच हजार प्लेट मःम उत्पादनको क्षमता भए हाल दैनिक दुई हजार प्लेट मःम उत्पादन भइरहेको बताए। “मःमको बजारका लागि समस्या छैन, चितवनसहित नवलपुर, मकवानपुर, तनहुँ र पाल्पाको रामपुर पुर्‍याउँदै आएका छौँ”, उनले भने। – रासस
कौडा खेलिरहेको अवस्थामा नौ जना पक्राउ काभ्रे। धुलिखेलमा  कौडा खेलिरहेको अवस्थामा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ। धुलिखेल नगरपालिका – ३ स्थित ग्रेस होटलमा कौडा खेलिरहेको अवस्थामा सोही नगरपालिका – ५ बस्ने २७ वर्षीय महेन्द्र दाहालसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको  हो। उक्त होटलमा कौडा खेलिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७३ हजार ३२ रुपैयाँ र १६ थान कौडा सहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
कोटेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते काठमाडौं । काठमाडौंको कोटेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–३२ कोटेश्वरमा प्रदेश ३–०२–००९प ७००६ नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक भक्तपुर चाँगुनारायण नगरपालिका–५ ताथली बस्ने ४२ वर्षीय मधुकर बालाको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका बालाको उपचारका क्रममा काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा गए राति मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार अन्य एक महिलाको भने सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
कलाकार सागर लम्साल ‘बले’का पिता लोकगायक राजेन्द्र लम्सालको निधन काठमाडौं । चर्चित हास्य कलाकार सागर लम्साल ‘बले’ का पिता तथा लोकगायक राजेन्द्र लम्सालको ६० वर्षको उमेरमा निधन भएको छ। स्पेनमा बस्दै आएका उनी केही महिनादेखि नै अस्वस्थ थिए। सोमबार उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ। सागर लम्सालले काम गर्दै आएको हास्य टेलिसिरियल ‘सक्किगोनी’का निर्देशक अर्जुन घिमिरे पाँडेले सामाजिक सञ्जालमा पोस्ट गर्दै लम्सालप्रति श्रद्धाञ्जलि दिएका छन् । राजेन्द्रको ‘जापान टोकियो’ गीतले निकै लोकप्रियता कमाएको थियो। उनका दर्जनौं लोकगीतहरी निकै चर्चित छन् ।
महामूर्ख साबित हुन तछाडमछाड धनुषा। होली पर्वको अवसरमा मिथिला ना्ययकला परिषद् (मिनाप)ले प्रत्येक वर्ष धुमधामसँग मनाउँदै आएको दुई दिवसीय होरी (होली) महोत्सवअन्तर्गत आज महामूर्ख सम्मेलनको आयोजना हुँदैछ। जनकपुरधामको जानकी मन्दिरको प्राङ्गणमा मिनापले फागुन २२ र २३ गते होली महोत्सवको आयोजना गरेको हो। महोत्सवअन्तर्गत होलीको जोगिरा प्रतियोगिता सम्पन्न भइसकेको छ भने आज महामूर्ख सम्मेलन हुँदैछ। महामूर्ख सम्मेलनमा समाजका अगुवा व्यक्तित्वलाई विशेष मानपदवी प्रदान गर्ने चलन छ । यसअन्तर्गत महत्वपूर्ण व्यक्तिलाई महामूर्खको उपाधि प्रदान गरिन्छ। मिनापले मिथिला क्षेत्रबाट उच्च तहको बौद्धिक काम गर्ने एक जनालाई हरेक वर्ष छनोट गरेर महामूर्खसहित विभिन्न व्यङ्गात्मक पदवीबाट सम्मान गर्ने चलन छ। महामूर्ख तथा अन्य उपाधिकर्तालाई मिथिलामा उत्पादन गरिएका तरकारीहरूको माला बनाएर लगाउने प्रचलन रहेको छ। यो सम्मेलनको परिकल्पनाकारमध्ये एक रहेका मैथिली साहित्य परिषद्का पूर्वमहासचिव एवं चर्चित पत्रकार चन्द्रकिशोर झा भन्छन्, “नेपालमा २०४६ सालमा बहुदल आएको थियो। राजनीतिकरूपमा परिवर्तनको समय थियो। यो परिवर्तनमा समाजिक तथा साहित्यिक क्षेत्रका व्यक्तिहरूको योगदानको आवश्यकता थियो, यस्तो अवस्थामा यो अवधारणा आएको थियो।” “समाजमा रहेको विकृति विसङ्गतिलाई समाप्त गर्न व्यङ्ग्यले निकै ठूलो भूमिका खेल्ने गर्छ”, उनले थपे। वीरगञ्जमा अब होरी मिलन समारोह महामूर्ख सम्मेलनको आयोजना गर्दै आएको छ। महामूर्ख सम्मेलनजस्तै कार्यक्रम भारतमा पनि पहिलेदेखि नै हुँदै आएको छ। महामूर्ख सम्मेलन नेपालको विभिन्न स्थानमा हुँदै आए पनि जनकपुरमा यो निकै चर्चित मानिन्छ। यस सम्मेलनको प्रारम्भ वीरगञ्जबाट भएको हो। मैथिली साहित्य परिषद् वीरगञ्ज २०५० सालमा पहिलोपटक यो सम्मेलनको आयोजना गरेको थियो। पहिलोपटकको महामूर्ख लाला माधवेन्द्रजी भएका थिए। अहिलेसम्म को–को भए महामूर्ख ? विसं २०६१ देखि जनकपुरधाममा महामूर्ख सम्मेलनको आरम्भ गरिएको थियो। विसं २०६१ मा महामूर्खको उपाधि मैथिली कवि नरेश ठाकुर, २०६२ मा तत्कालीन नेकपा (एमाले)का नेता शीतल झा, २०६३ मा तत्कालीन जनकपुर नगरपालिकाका प्रमुख हरिबहादुर बिसी, २०६४ मा तत्कालीन सद्भावना पार्टीका नेता ओमकुमार झा, २०६५ सालमा वरिष्ठ साहित्यकार डा राजेन्द्र विमल, २०६६ मा पूर्वमन्त्री रामचन्द्र झा र २०६७ मा नेपालका चर्चित राजनीतिक विश्लेषक सिके लाललाई प्रदान गरिएको थियो। यस्तै २०६८ मा साहित्यकार रामभरोष कापडी भ्रमर, २०६९ मा नेपाली कांग्रेसका नेता रामसरोज यादव, २०७० सालमा तमलोपाका वरिष्ठ नेता डा विजयकुमार सिंह, २०७१ सालमा नेता शत्रुधन महतो, २०७२ मा श्मशानघाटको स्वरूप परिवर्तन गरी आधुनिक स्वर्गद्वार बनाएर चर्चा बटुलेका पवन सिङ्घानीयाले पनि सो उपाधि प्राप्त गरिसकेका छन्। विसं २०७३ मा सप्तरीको मलेठमा नेकपा (एमाले)ले गरेको मेची-महाकाली अभियानका क्रममा प्रहरीको गोली लागेर पाँच जनाको मृत्यु भएपछि अन्तिम समयमा मिनापले सो कार्यक्रम स्थगित गरेको थियो। विसं २०७४ मा महामूर्खको उपाधि तमलोपाका अध्यक्ष वृषेशचन्द्र लाल र २०७५ सालमा जसपाका नेता लालकिशोर साहलाई प्रदान गरिएको थियो। त्यस्तै २०७६ सालमा मधेस प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउत, २०७७ सालमा महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य तथा २०७८ सालमा अर्थविद् डा भोगेन्द्र झालाई पनि महामूर्खको उपाधि प्रदान गरिएको थियो। यसरी छनोट गरिन्छ महामूर्ख ? महामूर्खको छनोट कसरी हुन्छ धेरैको उत्सुकताको विषय हुनसक्छ। महामूर्ख बन्न धेरै दिमाग खियाउनुपर्ने परिषद्का पूर्वअध्यक्ष मदन ठाकुर बताउँछन्। महामूर्खको छनोटका लागि तयारी आयोजनासँग खोजी सुरु भइहाल्छ। यसका लागि एक समिति गठन गरिन्छ। त्यसैले निर्णय गर्दै आएको छ। महामूर्ख बन्नका लागि धेरैको चाहना रहन्छ। जनकपुरधामको स्थानीय पत्रिकाहरूमा एक हप्ता पहिलादेखि नै को महामूर्ख बन्ने त्यसको नाममा चर्चा चलाइएको हुन्छ। नेपाल पत्रकार महासङ्घ पूर्व केन्द्रीय सदस्य शैलेन्द्र झा भन्छन्, “महामूर्ख जनकपुरधामको एउटा लोकप्रिय कार्यक्रम हो। यसलाई मिडियाले महत्व नदिने कुरै आउँदैन। मिडियामा चर्चा भएपछि कार्यक्रको आकर्षण अझ बढने गर्छ।” समान्यतया धेरैलाई लाग्न सक्छ महामूर्ख को बन्छ ? तर आश्चर्यको कुरो यो रहेको छ धेरैको इच्छा रहन्छ यसपालि म महामूर्ख बन्न सकूँ। विसं २०६५ का महामूर्ख उपाधि प्राप्तकर्ता एवं मैथिलीका वरिष्ठ साहित्यकार डा राजेन्द्रप्रसाद विमल भन्छन्, “उपाधि प्राप्त गर्नु आफैँमा ठूलो उपलब्धि रहेको छ, यस्तोमा महामूर्ख पाउनु ठूलो कुरो हो।” फागुपूर्णिमाको पूर्वसन्ध्यामा आयोजना हुने दुईदिने होली महोत्सवको पहिलो दिन फागु गीत प्रतियोगिता तथा दोस्रो दिन महामूर्ख सम्मेलनको आयोजन गरिन्छ। मिनापका महासचिव शैलेन्द्र मल्लिकले मैथिली भाषा, साहित्य, कला, संस्कृति तथा लोकगीतको संरक्षण गर्न होली महोत्सव आयोजना गरिएको बताए।
सिटी सफारीको ठक्करबाट पैदलयात्रीको मृत्यु इनरुवा। सुनसरीको रामधुनी नगरपालिका–१ झुम्का बजारमा सिटी सफारीको ठक्करबाट गए राति एकजनाको मृत्यु भएको छ। मृत्युहुनेमा रामधुनी–५ का ५९ वर्षीय भक्तबहादुर कार्की रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को २ ह ३८७७ नम्बरको सिटी सफारीले पैदलयात्री कार्कीलाई ठक्कर दिएको थियो। उपचारका क्रममा कार्कीको मृत्यु भएको र सफारी चालक टहरी–५ का ३५ वर्षीय सुरेश चौधरीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
हाेलीमा रंगिएका रंङहरू (फाेटाेफिचर) काठमाडाैं। हिन्दुहरुको रङहरुको पर्व होली मनाउन सोमबार काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा भीड लागेको थियाे। होली, जसलाई “प्रेमको पर्व,” र “वसन्तको पर्व,” भनेर पनि चिनिन्छ, नेपाल, भारत, बंगलादेश र पाकिस्तान लगायत विश्वभरका धेरै हिन्दू समुदायहरूले मनाउँछन्। यो पर्वले वसन्त ऋतुको सुरुवात र फसल काट्ने मौसमलाई जनाउँछ। रातो सिन्दुरको धुलो लगायतका विभिन्न रङहरु एकअर्कालाई छर्काएर पर्वमा मानिसहरु सहभागी हुन्छन्।
लोप हुँदै भक्तपुरको परम्परागत होली शैली भक्तपुर। ‘भिसीं द्यो या लग खङ लो वान ला, बिस्यु वाने मायक स्व वया ला’ अर्थात् ‘भीमसेनको लिङ्गले मन लोभियो कि, भाग्नुपर्ने गरी हेर्न आको हो कि’ भक्तपुर नगरपालिका तचपालस्थित दत्तात्रय मन्दिर अगाडिको भीमसेन मन्दिरको पाटीमा होली पर्वमा गुञ्जने यस्ता गीतहरु अहिले लोपोन्मुख अवस्थामा पुगेका छन्। भीमसेन मन्दिरको पाटीमा बसेर फागुन शुक्ल अष्टमीको दिनदेखि पूर्णिमासम्म भीमसेन गुठीका गायजुहरुले यस्ता गीतहरु गाएर होलीको आगमनसँगै बिदाइ गर्दथे। तर अहिले कतिपय स्थानीयवासीलाई त फागुसँग सम्बन्धित दाफा भजनका यस्ता गीतहरु पनि छन् भन्ने हेक्का छैन। फागुन शुक्ल अष्टमीको दिन मन्दिरमा राखिएको तीन हात लामो ३० इन्च मोटो काठबाट बनेको लिङ्गलाई ब्रह्मायणी खोलामा लगेर स्नान गराई काँधमा बोकेर ब्रह्मायणी, च्यामासिंह, जेँला, इनाचो, बाचुटोल हुँदै, तचपालस्थित दत्तात्रय मन्दिर वरिपरि रहेको घर र पसलहरुमा घुमाउने प्रचलन छ। यसरी घुमाउँदा भक्तजनले स्पर्श गरी ढोग्ने, दान दक्षिणा दिने र साँझ मन्दिरको पाटीमा झुन्ड्याउने परम्परा रहे पनि लिङ्गलाई टोलटोलमा घुमाउने प्रचलन भने अहिले हराउँदैछ। नेवारी परम्पराअनुसार यसलाई चीर स्वायगू अर्थात् लिङ्ग घुमाएपछि यहाँ फागु सुरु हुने परम्परा रहँदै आएको छ। लिङ्गलाई केही वर्ष काँधमा नबोकी सवारी साधनमा राखेर घुमाए पनि अहिले भने वर्षौंदेखिको परम्परा लोप हुने अवस्थामा पुगेको छ। ‘झ्यालय् च्वंगु तुकं मा, वहे ल्यासे जितः माः, व ल्यासे मदयकं जा हे मनया’ अर्थात् ‘झ्यालभरि तोरीको माला छ, त्यही तरुनी मलाई चाहिन्छ, त्यो तरुनी नपाएसम्म भातै खान्नँ’ भन्ने अर्थ बोकेको गीत गाएर प्रेमको पर्वका रुपमा पनि यो पर्वलाई लिने गरिन्छ। यस पर्वमा गाइने ‘अबिरया होली तंचाया ला ल्यासे, अबिरं छगुं ख्वाः हिसि दयेका बी’ अर्थात् ‘अबिरको होली, रिसायौ कि तरुनी, अबिरले तिम्रो मुहार हिस्सी बनाइदिउँ कि’ जस्ता अर्थ बोकेको नेपाल भाषाका दाफा भजनले प्रेम दर्शाएको पाइन्छ। होलीको दिन आफूलाई मन परेको युवतीलाई भजनबाटै प्रेम प्रस्ताव राख्ने उहिलेको प्रचलन अहिले लोप भइसकेको छ। भीमसेन गुठीले परम्परादेखि नै होलीलाई प्रेम र यौन पर्वसँग दाँजेर मनाउँदै आएको छ। गुठीले हरेक वर्ष फागुन शुक्ल अष्टमीको दिनदेखि फागुपूर्णिमासम्म भीमसेन मन्दिरमा भीमसेनको लिङ्ग र द्रौपदीको योनीको प्रतीकलाई झुन्ड्याएर यौन समागमको प्रतिविम्ब चित्रण गरेको छ। सात दिनसम्म लिङ्ग र योनीको पूजा एवं दर्शन पनि स्थानीयवासीले गर्ने गरेका छन्। काठको लिङ्गलाई भीमसेनको लिङ्ग र रातो कपडाबाट बनेको योनी आकारको प्वाललाई द्रौपदीको योनीका रुपमा लिने गरिन्छ। भीमसेन र द्रौपदीको यौन सम्बन्धका रुपमा राखिएको लिङ्ग र योनीको प्रतीकलाई यहाँका बासिन्दाले विकृतिका रुपमा नभई सांस्कृतिक महत्वका रुपमा संरक्षण गर्दै आएका छन्। पाटीमा झुन्ड्याएको लिङ्ग हल्लाउँदा योनी आकारको कपडाको प्वालभित्र छिर्छ, यसलाई यौन समागमका रुपमा लिइन्छ। विगतमा भीमसेन पाटीको बाहिर नै झुन्ड्याउने परम्परा रहे पनि यहाँबाट महिलालाई आवतजावत गर्न अप्ठ्यारो भएको गुनासो आएपछि केही वर्षयता भने पाटीको माथिल्लो तलाको भीमसेन मन्दिरमा झुन्ड्याउने गरेको हो। यहाँ दर्शन गर्न आउनेले भीमसेनको लिङ्ग हल्लाउने गर्छन्। एक सातासम्म स्थानीय बासिन्दा द्रौपदीको योनीमा भीमसेनको लिङ्ग घँचेटेर ढोग्ने गर्छन्। काठको लिङ्गको टुप्पोमा कपास झुन्ड्याउने गरिन्छ। यहाँ दर्शन गर्न आउनेले लिङ्ग र योनीको समागम गराउँदा कपासलाई वीर्यको प्रतीकका रूपमा लिन्छन् । यसरी दर्शन गर्दा पारिवारिक सुख, दीर्घायु मिल्ने र व्यापार वृद्धि हुने जनविश्वास रहेको छ। यसलाई हेर्दा अश्लीलता प्रदर्शन गरेको जस्तो देखिए पनि भक्तपुरका बासिन्दा भने यसलाई धार्मिक मान्यताका रुपमा लिँदै आएका छन्। आज बिहानै भीमसेन र काठको लिङ्ग दर्शन गर्दै स्थानीय ६९ वर्षका विष्णुभक्त श्रेष्ठले भीमसेको लिङ्ग दर्शन गरेमा राम्रो हुने र व्यापार बढ्ने विश्वास रहेको बताए। यो लिङ्गको दर्शन गर्न को महिला, को पुरुष पूर्णिमाको दिनसम्म हरेक दिन बिहान यहाँ स्थानीयवासी आउने गर्दछन् । लिङ्गको दर्शन गरेर भेटी चढाउने गरेका छन्। भक्तपुरका इतिहासविद् एवं संस्कृतविद् डा पुरुषोत्तमलोचन श्रेष्ठले यो पर्वलाई धार्मिक, सांस्कृतिक र सामाजिक पर्वका रुपमा परापूर्वकालदेखि मनाइँदै आएको बताउँछन्। यहाँ जीवन छ, त्यसैले उत्सव छ, अनि उत्सव छ र त जीवन छ भन्दै उनले वर्षौदेखि यहाँ प्रेम र यौनको प्रतीकका रुपमा होली पर्व मनाउँदै आएको बताए। डा श्रेष्ठले भने, “भीमसेन भैरव हो, भैरव महादेव हो, द्रौपदी भैरवी हो, अर्थात् पार्वती, द्रौपदीका पाँच पति भनेर नकारात्मक सन्देश प्रवाह गरिन्छ, वास्तवमा पूर्वजन्ममा द्रौपदीको विवाद नै नभई मृत्यु भयो, अर्को जुनीमा उनले महादेवको तपस्या गरी पति माग गरेपछि महादेवले पाँच पटक तथास्तु भनेर वरदान दिएपछि पाँच पाण्डव उनको पति भए, त्यो पनि महादेवकै लीला हो, यसमा तान्त्रिक शक्ति छ, गलत अर्थ लगाउनु हुन्न।” मन्दिरमा झुन्ड्याइएको काठको लिङ्ग भीमसेनको प्रतीकका रुपमा रहेको बताउँदै उनले यसलाई प्रेम र यौनसँग जोडेर हेर्नुपर्ने बताए। यो पुरुष शक्तिको प्रतीकका रुपमा रहेको भन्दै उनले तान्त्रिक विधिअनुसार वर्षौँदेखि चल्दै आएको परम्परालाई अहिले भ्रम फैलाएर बलात्कारीको लिङ्ग भनेर गलत अर्थ लगाएर इतिहास, धर्म र संस्कृति मास्न खोज्नु गलत भएको उनी बताउँछन्। धार्मिक र इतिहासका प्रत्येक प्रमाणले यो बलात्कारीको लिङ्ग होइन भीमसेनको प्रतीकका रुपमा राखिएको हो भन्ने पुष्टि गर्ने आधार धेरै रहेको भन्दै उनले वर्षौँदेखिको मान्यतालाई मास्ने प्रयास गर्न नहुने उनले बताए। साङ्केतिक रुपमा यौनसँग सम्बन्धित फागु पर्व अर्थात् होली पर्व दक्षिण एसियामै कतै कृष्णसँग र कतै प्रह्लादसँग सम्बन्धित रहने भए पनि विशेषत भक्तपुरमा भीमसेन र द्रौपदीको यौन समागमसँग सम्बन्धित रहेको उनको भनाइ छ। चीर स्वायगू अर्थात् लिङ्ग झुन्ड्याएपछि यहाँका नेवार समुदाय भीमसेन मन्दिरमा गई गुठी भोज खाने गर्दछन् भने होलीभरि शनिबार र मङ्गलबार भीमसेन मन्दिरमा मेला लाग्ने गर्दछ। यसलाई भीमसेनको प्रतीक मानिएकाले नै व्यापारीहरुले यसको दर्शन गर्ने परम्परा रहँदै आएको उनको भनाइ छ। व्यापारीले भीमसेनको पूजा गर्ने स्मरण गराउँदै उहाँले काठको लिङ्गलाई भीमसेनकै रुपमा दर्शन गर्ने र यसो गर्दा व्यापार बढ्ने पुरानो मान्यता अझै रहेको उनको भनाइ छ। यहाँका बासिन्दाको धार्मिक आस्थामै ठेस पुग्ने गरी हचुवाको भरमा बलात्कारीको लिङ्ग भनेर प्रचार गरिनु, धर्म संस्कृति र परम्परा मास्न खोज्नु गलत भएको इतिहास एवं संस्कृतिविद् डा श्रेष्ठ बताउँछन्। पुरुष मात्र नभई यसको अवलोकन एवं दर्शन गर्न महिला पनि आउने गर्दछन् भने यहाँ आउनेहरुले धार्मिक विश्वासकै आधारमा झुन्ड्याएको लिङ्गलाई हल्लाउने गर्दछन्। फागुपूर्णिमाको दिन साँझपख दत्तात्रय मन्दिर अगाडिको भीमसेनको मन्दिरबाट लिङ्ग निकाली काँधमा बोकेर ब्रह्मायणी मन्दिरस्थित खोलामा लगेर पखाल्ने र पुनः मन्दिरमा राख्ने परम्परा छ। त्यसपछि भने होली समाप्त हुने गर्दछ। यसरी मन्दिरबाट खोलासम्म लिङ्ग बोकेर लैजाने व्यक्तिको त्यस वर्ष छोरा जन्मन्छ भन्ने जनविश्वास अहिलेसम्म पनि रहेको स्थानीयवासी बताउँछन्। मल्लकालीन समयमा ने.सं ७८१ र ७९२ मा लेखिएका होलीसम्बन्धी गीतहरु अझै गाउने गरिएको छ। वसन्त ऋतुको आगमन फागुन महिनादेखि हुने भएको र यो समय यौन ऊर्जाको समय, माया प्रेम गर्ने समय मानिने भएकाले पनि होली पर्वसँग यसको सम्बन्ध रहेको भनाइ छ। वसन्तऋतुमा मानिसको मात्रै नभई चराचुरुङ्गी र पशुपक्षीमा पनि कामवासना हुन्छ भन्ने विश्वास रहेको पाइन्छ।
आजको मौसमः कोशी गण्डकी र कर्णाली प्रदेश प्रदेशमा वर्षाकाे संभावना काठमाडौं। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ। साथै कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। उता राति भने कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित क्षणिक र हल्का वर्षाको सम्भावना रहनुका साथै कोशी प्रदेश, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।
१४ लाख भारुसहित महोत्तरीबाट ९ जना पक्राउ काठमाडौं । महोत्तरीको जलेश्वरबाट प्रहरीले १४ लाख भारतीय रुपैयाँसहित नौ जनालाई पक्राउ गरेको छ । महोत्तरीको जलेश्वर नगरपालिका ३ मलिवारा बजारमा अवैध रुपमा नेपाली नोटबाट भारतीय नोट सटही गर्ने ९ जनालाई सोमबार महोत्तरी प्रहरीले नगदसहित नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरुमा जलेश्वर नगरपालिका ३ का ४३ वर्षीय जितेन्द्र कुमार सिंह, वर्ष ४० का सुशिल साह, १९ वर्षीय धिरज मण्डल, ३२ वर्षीय जिलानी अंसारी, वर्ष ३४ का अकवर अंसारी, वर्ष ५६ का रामएकवाल मण्डल, जलेश्वर २ का ३४ वर्षीय सरोज कुमार साह, २७ वर्षीय आनन्द कुमार र भारत बिहार, मोतिहारी जिल्ला मोठलिईया हरसिद्दी थाना ३ बस्ने ३३ वर्षीय जितेन्द्र कुमार महतो छन् । उनीहरुको साथबाट प्रतिबन्धित भारतीय रुपैयाँ १४ लाख ३७ हजार ६४० र नेपाली रुपैयाँ ८२ हजार २०५ बरामद गरेको महोत्तरीका प्रहरी प्रवक्ता डीएसी सन्तोष पोखरेलले जानकारी दिए । विदेशी विनियम ऐन २०१९ अन्तर्गत आवश्यक कारवाहीको लागि उनीहरुलाई राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइने जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
होलीमा अभद्र व्यवहार गरेको आरोपमा २ सय भन्दा बढी पक्राउ काठमाडौं । होलीमा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले काठमाडौंबाट २ सय भन्दा बढी पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौका अनुसार काठमाडौंका विभिन्न स्थानबाट होलीको क्रममा उच्छृंखल व्यवहार गर्ने, एक अर्कालाई इच्छा विपरित पानी छ्याप्ने रंग दल्ने जस्ता कार्य गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । परिसरका प्रमुख एसएसपी दानबहादुर कार्कीले घट्नाको प्रकृति हेरेर केहीलाई आज साँझ नै छाडिने र बाँकीलाई अनुसन्धान गर्ने गर्ने जानकारी दिए । ‘केहिलाई अभद्र व्यवहारमा मुद्धा चलाउने छ केहीलाई सम्झाएर छाडिनेछ’, एसएसपी कार्कीले भने । प्रहरीले काठमाडौं उपत्यकामा  ५ सय ४३ मोटरसाइकल होल्ड गरेको थियो । कागजात साथमा नभएका, मापसे गरेर चलाएका र बिना हेल्मेट चलाएका मोटरसाइकल ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो । यसरी नियन्त्रणमा लिएका मोटरसाइकललाई कागाजात लिएर छाडेको पनि ट्राफिक प्रहरीले जनाएको छ ।
झाँक्रीको यातनाबाट १४ वर्षीया बालिकाको मृत्यु बुटवल । झारफुक गर्ने बहानामा कुटपिट गरी एक बालिकाको हत्या गरेको आरोपमा झाँक्री महिला पक्राउ परेकी छन् । इलाका प्रहरी कार्यालय सालझण्डी रुपन्देहीले सैनामैना नगरपालिका १० फूलवारीकी १४ वर्षीया सीता ज्ञवालीको शारीरिक यातनाका कारण मृत्यु भएको विषयमा अनुसन्धान गर्न ती महिलालाई पक्राउ गरेको हो । सुरुमा घाँटी र कान दुखेपछि ज्वरो आएर स्थानीय सालझण्डीको एक स्थानीय क्लिनिकमा उपचार गराई घरमै बसेकी सीतालाई मातासँग देखाउन भन्दै अभिभावकले सैनामैना १० बेम्टेनीकी २२ वर्षीया माता सोनिया रेश्मी कहाँ शनिबार साँझ लिएर गएका थिए । माता भनिने सोनियाले धामी झाँक्री गरी बोक्सी भकाउने नाममा निर्मम शारीरिक यातना दिएकी थिइन् । त्यसपछि उनको शनिबार करिब साढे ९ बजे मृत्यु भएको थियो । लगातार चार–पाँच दिनदेखि बिरामी परेकी सीताको मृत्यु शारीरिक यातनाले भएको स्थानीयको भनाइ छ । उनको अन्तिम संस्कार गरेपछि घटना सामसुम भएको थियो । आइतबार साँझ सो घटनाको भिडियो सार्वजनिक भएपछि सीतालाई निर्मम शारीरिक यातना दिएर मृत्यु भएको स्थानीयलाई थाहा भएको थियो । भिडियोमा माता भनिने सोनियाले सीतालाई लछारपछार गरेको, शरीरमा पानी खन्याएको, कपालमा समातेर घिसारेको, जबरजस्ती पानी खुवाएको लगायतका निर्मम तरिकाको यातना गरेको देखिन्छ ।
दार्चुलामा चितुवा मृत फेला दार्चुला । दार्चुलाको शैल्यशिखरमा एक चितुवा मृत फेला परेको छ । शैल्यशिखर नगरपालिका –२ स्थित कालिपातली र थामुको सीमा छुट्टाउने घट्टेखोलामा चितुवा मृत अवस्थामा फेला परेको स्थानीय शङ्कर जोशीले जानकारी दिए । पाँच फिट तीन इन्च लम्बाई र दुई फिट एक इन्च चौडाइ रहेको चितुवा सोमबार मृत अवस्थामा भेटिएको डिभिजन वन कार्यालय गोकुलेश्वरका प्रमुख दुर्गा अवस्थीले बताए । चितुवाको टाउकोमा गहिरो चोट लागेको उनले बताए । चितुवा पानी पिउन घट्टेखोलामा आउँदा भिरबाट लडेर मरेको हुन सक्ने अनुमान गरिएको छ । चितुवालाई प्रहरी, सवडिभिजन वन कार्यालयको टोली, जनप्रतिनिधि र स्थानीयको रोहबरमा गोकुलेश्वर अस्थायी प्रहरी पोष्ट नजिक गाडेको बताइएको छ ।
ओखलढुंगामा झुण्डिएको अवस्थामा दम्पती मृत फेला ओखलढुंगा । ओखलढुङ्गामा एक वृद्ध दम्पतीको शव भेटिएको छ । मोलुङ गाउँपालिका–२ लामिडाँडा निवासी ७० वर्षीय हेमप्रसाद दाहाल र उनकी श्रीमती ६९ वर्षीया बेदुकाको घर नजिकैका रुखमा झुन्डिएको अवस्थामा शव भेटिएको प्रहरी प्रमुख निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।  घट्नाबारे थप अनुसन्धान भइरहेको निरीक्षक दासको भनाइ छ ।
बालुवामुनि गाडेर राखेको गाँजा बरामद सप्तरी । सप्तरी प्रहरीले बालुवामुनि गाडेर लुकाएर राखेको ६० केजीगाँजा बरामद गरेको छ । कन्चनरूप प्रहरी टोलीले हनुमाननगर कंकालिनी नगरपालिका १ कोशी ब्यारेजभन्दा दक्षिण कोशी बाँधको २ सय मिटर तल  बालुवामुनि अवैध रुपमा गाडेर राखेको अवस्थामा गाजा बरामद भएको सप्तरीका एसपी नरेन्द्र कुमार कार्कीले जानकारी दिएका छन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
राजधानीमा हाेलीकाे उमंग (फोटोफिचर) काठमाडौं। देशभर सोमबार फागुपूर्णिमा हर्षाेल्लासका साथ मनाइँदै छ। तराईमा औपचारिक रुपमा मंगलबार मनाइने भए पनि आइतबार पनि फागुपूर्णिमा मनाइरहेका छन्। फागु पूर्णिमा अवसरमा काठमाडौंको वसन्तपुरमा भेला भएका बालबालिकादेखि युवाहरुले हर्षाेल्लासका साथ मनाइरहेका छन्। एक अर्कालाई रङ लगाएर शुभकामना साटासाट गर्दै नाचगान गरेर फागुपूर्णिमा मनाइरहेका छन्।
मर्यादित बन्दै होली काठमाडौँ। विगत केही वर्षअघिसम्म फागुपूर्णिमा (होली) पर्वको एक साताअघिदेखि नै राजधानीमा युवतीको आवागमन बन्द हुन्थ्यो। काम विशेषले निस्कनै पर्ने युवतीले घर फर्कंदा निथ्रुक्क हुनुपर्ने बाध्यता थियो। फागुन शुक्ल अष्टमीको बिहान हनुमानढोका दरबार क्षेत्रमा चीर गाडेपछि युवतीलाई पानी भरेको लोलाले हिर्काउने परम्परा नै बनेको थियो । यो विकृति क्रमशः अन्त्य हुन थालेको छ। केही वर्षअघिसम्म फागुपूर्णिमाका दिन घर बाहिर निस्कनेलाई बाल्टीका बाल्टी पानी खन्याइन्थ्यो । अबिरलगायत रङ दलिन्थ्यो। खानेपानीकै अभाव रहेको राजधानी काठमाडौँमा फोहर पानीले बटुवालाई हान्ने विकृति बढ्दै गएको थियो। विसं २०७६ मा कोरोना महामारी बढेपछिदेखि नै विकृति अन्त्य हुन थालेको हो। कोरोनाअघि पनि यो विकृतिमा केही कमी भने आइसकेको थियो। अपवादका रुपमा भने अझै पनि केही मानिस उच्छृङ्खल गतिविधिमा संलग्न भएको देखिन्छ। त्यस्तालाई कानुनी कारबाहीको दायरामा ल्याइने नेपाल प्रहरीले जनाएको छ। यसपटक भने कसैले पनि अरुको इच्छाविपरीत फागुपूर्णिमाको संस्कृतिका नाममा विकृतिका काम गरेको देखिएन। मानिस आफू आफूमै रमाइरहेका छन्। घरपरिवार एवं छरछिमकीसँग फागु खेले। टीका लगाइदिए । खुसी साटासाट गरे। आपसी सौहार्दता बढाए। फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागुपूर्णिमा (होली) पर्व राजधानीलगायत पहाडी र हिमाली जिल्लामा आज अपेक्षाकृत शान्तरुपमा मनाइरहेको देखिन्छ। केही वर्षअघिसम्म फागुपूर्णिमा (होली) मा मानिसको इच्छाविपरीत रङ दल्ने पानीका लोला हान्ने गरिन्थ्यो। केही वर्षअघिदेखि त्यस्तो काम रोकिएको छ । यस वर्ष भने सडकमा फागु खेल्ने प्रायः बालबालिका देखिन्छन्। बालबालिकाले पनि विगतमा जस्तो सडकमा हिँड्ने मानिसलाई रङ दल्ने र पानीका लोला हान्ने गरेका छैनन्। गाडी रिजर्भ गरेर होली खेल्दै हिँड्ने मानिसको भीड नगन्य छ। पुतलीसडक चोकमा फागु पर्व मनाइरहेका युवा रामचन्द्र श्रेष्ठ चिनजानका साथीभाईबीच मात्र पर्व मनाउने सडकमा सवारी र पैदल यात्रा गर्नेलाई केही नगर्ने बताउँछन् । विशेषगरी युवतीलाई लोलामा पानी भरेर एक हप्ताअघिदेखि नै छ्यापेर मनोवैज्ञानिकरुपमा बाहिर निस्कन नसक्ने वातावरण बनाइन्थ्यो। यस वर्ष फागु पर्वकै दिन पनि सहजरुपमा हिँडडुल गर्न सकेको सडकमा भेटिएका धेरैले बताए। कतै अपवादका रुपमा जबर्जस्ती रङ लगाए पनि फोहर पानीले दुव्र्यवहार गरेको देखिएन। बिहानैदेखि वसन्तपुरमा विशेष चहलपहल यस पर्वका अवसरमा आज काठमाडौँको वसन्तपुरमा उपस्थित मानिसले विशेषरुपमा होली अर्थात् फागुपूर्णिमा पर्व मनाइरहेका छन्। वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चीरलाई बेलुकी विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगी जलाउँछन्। उक्त चीरमा राखिएका ध्वजापताका औषधोपचारको काममा आउने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाइन्छ। फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठक अगाडि मैलको रुखलाई रङ्गीचङ्गी ध्वजापताकासाथ सिँगारी गाडिएको चीरमा पूजाआजा गरेपछि फागु सुरु भएको थियो। आजै राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालदेखि कहीँ पनि नबिसाई ल्याइएको १० पाथी चामलको भात र एउटा राँगाको मासु खुवाई सैनिक अस्पतालभित्र रहेको ‘जधु’ नामक धारामा चुठाउने चलन छ। त्रेता युगमा दैत्यराज हीरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ। त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको मानिन्छ। यसैगरी द्वापरयुगमा श्रीकृष्ण भगवान्लाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिइन्। निजलाई ब्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउँछन्। राम्रो तरिकाले तयार पारिएका रङ र अबिरले छालाको रोग निवारण गर्ने भएकाले यस्ता रङको प्रयोग गरी फागु खेल्नाले शीतकालमा शरीरमा उत्पन्न कफको विनाश हुन्छ। बालिएको चीरको धुवाँबाट शीतकालका अनेकौँ रोगका कीटाणु निर्मूल हुने हुनाले यो पर्वको आयुर्वेदिक महत्व पनि छ। फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक बिदा दिँदै आएको छ। यस पर्वका उपलक्ष्यमा आजभोलि रमाइलोका निम्ति गाँजा, भाङ, जाँड–रक्सीजस्ता नशालु पदार्थको सेवन गरी गुन्डागर्दी गर्ने, शरीरमा प्रतिकूल असर गर्ने खालका रासायनिक पदार्थ प्रयोग गर्ने तथा सवारीसाधनमा समेत लोला हिर्काउने जस्ता विकृति पनि कम हुँदै गएको छ। प्रत्येक वर्ष पहाडी जिल्लामा फागुन शुक्ल पूर्णिमा र तराईका जिल्लामा फागुन कृष्ण प्रतिपदाका दिन फागु पर्व मनाउने गरिन्छ। २७ हजार सुरक्षाकर्मी परिचालन फागुपूर्णिमाका अवसरमा देशभर सामान्य सुरक्षाका लागि बाहेक २७ हजार सुरक्षाकर्मी परिचालन गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले जानकारी दिए। होलीका अवसरमा अहिलेसम्म देशभर कुनै अप्रिय घटना भएको छैन। राजधानीलगायत मुख्य सहरमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । राजधानीमा नियमित बाहेक पनि ६६ भन्दाबढी स्थानमा जाँच गरिरहेको प्रहरीले जनाएको छ। यस वर्ष विगतमाभन्दा फागु पर्व सभ्य देखिएको प्रहरी प्रवक्ता पोखरेलले बताए। अहिलेसम्म उच्छृङ्खल गतिविधि गर्ने कसैलाई पनि प्रहरीले यिनन्त्रणमा लिएको छैन। सहरका भित्री भागमा फागुपूर्णिमाका अवसरमा धेरै चहलपहल छैन । होलीको चहलपहलमा उत्रनेले पनि फागुपूर्णिमाका अवसरमा अरुलाई आक्रमण गरेका छैनन्। समग्रमा फागुपूर्णिमाका अवसरमा मानिस सभ्य बन्दै गएको देखिन्छ।
बसन्तपुरमा हाेलीकाे राैनक (फाेटाेफिचर) काठमाडाैं। आज फागुन पुर्णिमा। आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ। असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने प्रचलन छ। फागु अर्थात् होलीको अवसरमा सरकारले सार्वजनिक विदासमेत दिएको छ। हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको भोलिपल्ट तराई तथा भित्री मधेसका जिल्लाहरूमा वसन्त ऋतुका अनेक रङहरूलाई प्रतिविम्बित गर्ने पर्वका रूपमा होली पर्व हर्षोल्लासपूर्वक मनाउने गरिन्छ। राजधानी काठमाडाैंकाे बसन्तपुरमा हाेली खेल्न मानिसहरू जम्मा भएका छन्। स्वदेशी तथा विदेशी पर्यकट यतिबेला राजधानीका बसन्तपुरलगायतका स्थानमा हर्षाेल्लासपूर्वक हाेली खेलिरहेका छन्।
‘नेपाल प्रहरी-एभरेष्ट बैंक छात्रवृत्ति अक्षय कोष’ स्थापना काठमाडौँ। नेपाल प्रहरी र एभरेष्ट बैंकबीच छात्रवृत्ति अक्षयकोष स्थापनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। प्रहरी प्रधान कार्यालय नक्सालमा आइतबार आयोजित कार्यक्रममा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहबीच ‘नेपाल प्रहरी–एभरेष्ट बैंक छात्रवृत्ति अक्षय कोष’ स्थापनासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो। सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत खालिङले र प्रहरी महानिरीक्षक सिंहलाई रु २५ लाखको चेक हस्तान्तरण गरे। कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले उक्त सहयोगले प्रहरी कर्मचारीका सन्ततीको शिक्षामा सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले एभरेष्ट बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल प्रहरीलाई विभिन्न सहयोग गर्दै आएको बताए। कार्यक्रममा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत खालिङले बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत प्रहरीलाई सहयोग गरेको बताए। सम्झौताबाट बढीभन्दा बढी विद्यार्थी लाभान्वित हुने अपेक्षा उनले गरेका छन्। सम्झौताअनुसार प्रहरी विद्यालयमा अध्ययन गर्ने बहालवाला तथा अवकाश प्राप्त र अमर/सहिद एवं अशक्त प्रहरी कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ हवल्दार दर्जासम्मका उत्कृष्ट अङ्क प्राप्त गर्ने प्रहरी कर्मचारीका दुई जेहन्दार विद्यार्थीलाई निःशुल्क पढाइनेछ। आगामी शैक्षिक सत्र २०८० वैशाखदेखि लागू हुने यो सम्झौताअनुसार नेपाल प्रहरी विद्यालयमा अध्ययनरत कक्षा ४ देखि १२ सम्म अध्ययनरत विद्यार्थीलाई उपलब्ध हुनेछ।
पृथ्वी राजमार्गको जामुने खैरेनी खण्ड एकतर्फी सञ्चालन दमौली। गाडी फसेर अवरुद्ध भएको पृथ्वी राजमार्गअन्तर्गत तनहुँको जामुने खैरेनी खण्ड एकतर्फी सञ्चालनमा आएको छ। म्याग्दे गाउँपालिका–४ स्थित थर्पु घुम्तीमा सडकमा गाडी फसेर अवरुद्ध रहेको उक्त खण्ड आज बिहानदेखि एकतर्फी सञ्चालनमा आएको हो। आइतबार राति परेको वर्षाका कारण बाटो हिलाम्य हुँदा सडकमै गाडी फसेपछि राजमार्ग अवरुद्ध भएको थियो। बिहानदेखि एकतर्फीरुपमा सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाणले जानकारी दिए। सडक दुईतर्फी सञ्चालनका लागि काम भइरहेको उनको भनाइ छ । पृथ्वी राजमार्ग विस्तारका लागि काम भइरहँदा घाम लाग्दा धुलो र पानी पर्दा हिलोको समस्याले सर्वसाधारणलाई सास्ती भइरहेको छ।
बिदा मनाउन मेक्सिको गएका यी नेपालीभाषीमाथि यस्तो बज्रपात कोलम्बस। मानिसलाई विपत् कसरी आइलाग्छ भन्ने कुराको कुनै पत्तो हुँदैन। खुसी खुसी विदा मनाइरहेका बेला अमेरिकाको कोलम्बस, ओहायो निवासी बालकृष्ण न्यौपानेलाई अकस्मात् आइलागेको काहालीलाग्दो विपतले ओहायो र आसपासका क्षेत्रमा बसोबास गर्ने नेपालीभाषी समुदाय शोकमग्न भएका छन्। बिदा मनाउन दक्षिण अमेरिकी मुलुक मेक्सिको पुगेको न्यौपानेका परिवार जस्तो गएको थियो त्यस्तै सकुशल फर्किन सकेन। मनभरि पीडा बोकेर बालकृष्ण र उनका ३ बर्षीय कान्छा छोरामात्र सकुशल घर फर्किन सके। घटनाविवरण अनुसार, दुबै एउटै कम्पनीमा काम गर्ने बालकृष्ण र उनकी पत्नी रुकादेवी न्यौपाने आफ्ना दुई छोराहरु आरभ र अर्पणलाई समेत लिएर विदा मनाउनका लागि मेक्सिकोको काबो सेन्ट लुकास भन्ने पर्यटकीय क्षेत्रमा फेब्रुअरी १९ मा गएका थिए। समुद्र तटको सो क्षेत्रमा फेब्रुअरी २४ सम्म समय यो परिवारका लागि हासीखुसी बितेको थियो। तर, फेब्रुअरी २४ को साँझ सोच्दै नसोचेको बज्रपात यसरी भोग्नु परेको कि थाहा पाउने आफन्तजन र अमेरिकाबासी नेपालीभाषी समुदाय नै शोकमा डुब्न पुग्यो। दिनभरको घुमाइपछि न्यौपानेको परिवार आफू बसेको होटलमा पालमारामा साँझ फर्कियो। डिनर खानुभन्दा पहिला तातो पानीको पोखरी ज्याकुजीमा बस्न गए। यत्तिकैमा सानो छोरालाई वाथरुम जान मन लाग्यो। पत्नी रुकु र ठूलो छोरालाई त्यही छाडेर बालकृष्ण सानो छोरालाई लिएर गए। बाथरुमपछि सानो छोरालाई केही खानासमेत किनेर फर्किँदा केही समय लाग्यो। बालकृष्ण फर्कँदा ज्याकुजीमा श्रीमती र ठूलो छोरा थिएनन्। बरु ज्याकुजीको नजिकै रहेको स्वीमिङ पुलमा दुई जनाको शव तैरिरहेको थियो। र, दुबैलाई पानीबाट निकाल्ने प्रयासमा मानिस थिए। प्यारामेडिक्स र एम्बुलेन्स आएका थिए। हेर्दा आफ्नै श्रीमती र छोरा परेपछि बालकृष्ण बज्रपात पर्‍याे। दुबैलाई अस्पताल त लगियो र मृत घोषणा गरियो। बालकृष्णमाथि परेको यो पीडाको जानकारी पाएपछि केही आफन्तहरु भोलिपल्टै मेक्सिको गए। मृतकहरुको पोष्टमार्टम र अन्य प्रक्रिया पूरा गर्नु पर्ने भयो। अमेरिकामा कम्पनीमा काम गरेर परिवार चलाइरहेका न्यौपानेलाई अकस्मात आइलागेको यो अपतमा आर्थिक आपत पनि थपियो। शबलाई अमेरिकासम्म लैजानु पर्ने हुन्थ्यो। प्रक्रियाको शुरुदेखि शब अमेरिकासम्म लैजानलाई नै धेरै रकम खर्च गर्नु पर्ने अवस्था आयो। यस्तो अवस्थामा गो फण्ड खोलेर त्यसमार्फत सहयोग जुटाउने काम आफन्तहरुले गरिरहेका छन्। (सहयाेग गर्नका लागि हार्दिक श्रद्धान्जली लेखेकाे  लिंकमा क्लिक गर्नस्)। हार्दिक श्रद्धांजलि बालकृष्णका भाइ नाताका नारायण न्यौपानेले दिएको जानकारीअनुसार, मेक्सिकोबाट शब ल्याएर शनिवार मार्च ४ का दिन कोलम्बसमा अन्तिम संस्कार गरिएको छ। बालकृष्णमाथि परेको बज्रपातप्रति सहानुभूति देखाउने र समबेदना व्यक्त गर्नेहरुको ठूलो भीड अन्तिम संस्कारका दिन पनि देखिएको थियो।
केबलकार निर्माणका लागि सम्भाव्यता अध्ययन गलकाेट। गण्डकी प्रदेशको धार्मिक गन्तव्य बागलुङको कालिका मन्दिरदेखि भकुण्डेसम्म केबलकार निर्माणको योजना अघि सारिएको छ। बागलुङमा यसअघि बागलुङ नगरपालिका-४ कुडुलेस्थित दाबगरादेखि पञ्चकोटसम्म केबलकार लैजाने योजनाअघि सारिएको भए पनि स्थानीयको विरोधकापछि योजना अघि बढेको थिएन। अहिले बागलुङ पर्यटन विकास समिति तथा पर्यटन अभियान्ताको पहलमा केबलकार निर्माणको सम्भाव्यता अध्ययन सुरु गरिएको हो। केबलकार सञ्चालनका लागि विस्तृत अध्ययन प्रतिवेदन डिपिआर तयार पार्नका लागि प्रारम्भिक अध्ययन थालिएको छ। कालिका मन्दिर आउने भकुण्डेसम्म लैजाने र नजिकै रहेको भैरवस्थान मन्दिरको समेत दर्शन गराउने उद्देश्यले केबलकारको अवधारण ल्याइएको बागलुङ पर्यटन विकास समितिका सचिव अर्जुन चोखालले जानकारी दिए। “हामी प्रारम्भिक अध्ययनमै छौँ, अहिले प्राविधिकले पहिलो पटक यस स्थानको सर्वे गर्नुभएको छ, धेरै हिसाबले कालिका मन्दिर नजिकैबाट भकुण्डेसम्म केबलकार निर्माण गर्न सहज देखिएको छ, जुन अध्ययनले देखाएको प्राविधिकले जनाउनुभएको छ”, चोखालले भने। लामो पुल हेर्ने, कालिका मन्दिर दर्शन गर्ने र बागलुङ बजार घुम्न आएका पर्यटकलाई भकुण्डे पुर्‍याउने र भकुण्डेलाई एउटा सांस्कृतिक गाउँका रुपमा विकास गर्न सके केबलकार चल्ने सक्ने उनको भनाइ छ। यसका लागि बागलुङ नगरपालिकाले पहल तथा स्थानीय उद्यमीले साझेदारीमा गर्नुपर्ने उनले बताए। केबलकार निर्माणका लागि भकुण्डेका स्थानीय, बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समिति, बागलुङ नगरपालिका तथा पर्यटन व्यवसायीसँग पहिलो चरणमा छलफल सकारात्मक भएको कृष्ण केसीले जानकारी दिए। उनले स्थानीय पालिकाको समन्वयमा केबलकार निर्माण गर्नसके बागलुङको पर्यटन विकासमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरे। भकुण्डे गाउँ घरबासका दृष्टिले चर्चित गाउँ हो जहाँ जिल्लाकै पहिलो घरबास अतिथि सत्कार घरबास स्थापना गरिएको थियो। भकुण्डे गाउँको बराह ताल, हीरा ताल, मुलाबारी भ्यू टावर, सास्कृतिक सङ्ग्रहालय र यहाँको घरबासमा पाइने स्थानीय परिकारको स्वादका कारण यहाँ पुग्ने पर्यटकको सङ्ख्या बढ्दो भएकाले केबलकारको अवधारणा ल्याइएको छ। “हामीले हालै प्रारम्भिक अध्ययन गरेका छौँ, कालिका मन्दिरदेखि भकुण्डेसम्म केबलकार सञ्चालन गर्न सकिने देखियो, लगानीसमेत निजी क्षेत्रले उठाउँछ, सुरुमा स्थानीय पालिकाले समझदारी गर्न पर्‍यो”, उनले भने। केबलकार निर्माणमा तत्काल डिपिआर बनाएर प्रक्रिया अगाडि बढाउन बागलुङ नगरपालिकाले तगारुकता देखाएको भन्दै उनले भकुण्डेमा पर्यटकीय विकास गर्न चालु आर्थिक वर्षमा रू २० लाख बजेट विनियोजन भएको बताए। कालिका मन्दिरदेखि भकुण्डेसम्म केबलकार सञ्चालनका लागि प्राविधिक हिसाबले सफल देखिएको केबलकार नेपालका अध्यक्ष तथा इन्जिनियर गुणराज ढकालले बताए। ढकालले एक हप्ता लगाएर गरेको प्राविधिक अध्ययनमा केबलकार सञ्चालन प्राविधिक र व्यावसायिकरुपमा दुवै रुपमा उचित देखिएको बताए। अध्ययनले केबलकार निर्माणका लागि झण्डै रु एक अर्ब ५८ करोड लाग्ने देखाएको उनको भनाइ छ। केबलकारको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) बनाउनका लागि नगरपालिकाले आर्थिक सहयोग गर्ने बागलुङ नगरपालिकाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बताए। रासस
आज फागु पूर्णिमा, पहाडी क्षेत्रमा होली पर्व मनाइँदै काठमाडाैं। आज फागुन पुर्णिमा। आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ। असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने प्रचलन छ। फागु अर्थात् होलीको अवसरमा सरकारले सार्वजनिक विदासमेत दिएको छ। हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको भोलिपल्ट तराई तथा भित्री मधेसका जिल्लाहरूमा वसन्त ऋतुका अनेक रङहरूलाई प्रतिविम्बित गर्ने पर्वका रूपमा होली पर्व हर्षोल्लासपूर्वक मनाउने गरिन्छ। होली एक आपसमा विभिन्न रङ्ग तथा अबीर लगाएर मनाउने चलन छ । फागु पूर्णिमाको अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीका साथै राजनीतिक दलका शीर्ष नेताहरुले शुभकामना दिएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले फागु पुर्णिमाको अवसरमा शुभकामना दिँदै पर्वले विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवं कुरीतिहरुलाई निर्मूल गर्दै मौलिक संस्कृतिहरुको संरक्षण र संवर्द्धन गर्न प्रेरणा प्रदान गर्ने बताएकी छन्। साथै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभित्र प्रत्येक जातजाति र धर्मावलम्बीहरुका आ–आफ्नै सांस्कृतिक महत्व बोकेका मौलिक परम्परा र पर्व रहेको भन्दै यस्ता मौलिक परम्परा, संस्कृति र पर्वहरुले सामाजिक सद्भाव, एकता र सहकार्यको आधारशिला खडा गर्नाका साथै राष्ट्रिय एकता र स्वाधीनताको प्रतिनिधित्व गर्ने उल्लेख गरेका छन्।
लोसपाले मनायो होली पर्व काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा होली पर्व मनाएको छ। लोसपाका नेता, कार्यकर्ताहरूले ‘होली मिलन समारोह’ मा आपसमा रङ दलेर होली पर्व मनाएका हुन्। पार्टीका नेताकार्यकर्ताबीच होली मिलन समारोह गरेर होली मनाइएको लोसपाका कार्यकारिणी सदस्य डा सुरेन्द्र झाले जानकारी दिए। होली पर्वको पूर्वसन्ध्यामा नेताहरूले काठमाडौँमा होली मनाएका हुन्। यस वर्षको होली पर्व सोमबार पहाडमा र तराईमा आगामी मङ्गलबार मनाइनेछ। कार्यक्रममा लोसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो लगायतका नेताहरूसहित उल्लेख्य सङ्ख्यामा पार्टी कार्यकर्ताहरूको उपस्थिति थियो। यसअघि होली पर्वको पूर्वसन्ध्यामा मिथिला संस्कृति समाजले शनिबार माइतीघर मण्डलामा फगुवा उत्सव आयोजना गरेको थियो।
अभिनेत्री निशा अधिकारीको मुद्दामा सम्पतिको फाँटबारी देखाउन आदेश काठमाडौं। काठमाडौं जिल्ला अदालतले अभिनेत्री निशा अधिकारीले पति क्रिकेटर शरद भेषवाकरविरुद्ध दिएको अंशबन्डाको मुद्दामा सम्पत्ति फाँटबारी माग गर्न आदेश दिएको छ। न्यायाधीश कमलप्रसाद ज्ञवालीको इजलासले आज सम्पत्ति फाँटबारी माग (आफ्नो सम्पत्ति के कति छ अदालतलाई देखाउन)आदेश दिएको हो। अभिनेत्री अधिकारीले उक्त मुद्दामा नाबालक छोरालाई पनि अंशमा भाग लगाउनुपर्ने माग गरेकी छन्। अभिनेत्री अधिकारीले गत भदौ २८ गते नै अंशचलनको मुद्दा दायर गरेकी थिइन्। उनीहरूबीच २०७४ सालमा विवाह भएको थियो।
जहाँ शिक्षक र विद्यार्थी आफ्नो जातीय पोशाकमा भेटिन्छन् पाँचथर। पाँचथरको फिदिम नगरपालिका–७ रानीटारमा अवस्थित रानीटार माध्यमिक विद्यालयमा साताको हरेक सोमबार र बिहीबार विद्यार्थी तथा शिक्षकहरू आ–आफ्नो जातीय पोशाकमा भेटिने गर्छन्। यस दिन उक्त विद्यालय पुग्दा यहाँ कुनै सांस्कृतिक कार्यक्रम होला भन्ने अनुभूति हुन्छ। नामजस्तै सुन्दर बस्तीको बीचमा अवस्थित यस विद्यालयमा विद्यालय समय भएपछि विद्यार्थी र शिक्षकहरू वरिपरिका गाउँ बस्तीबाट विद्यालयतर्फ अघि बढ्छन्। धेरै जातजातिको बसोबास रहेका कारण विद्यार्थी तथा शिक्षकहरू आ–आफ्नो जातीय पोशाकमा सजिएर विद्यालय आएको दृश्य निकै आकर्षक देखिन्छ। गुरुङ, तामाङ, लिम्बू, राई, ब्राह्मण, क्षेत्री र दलित समुदायका विद्यार्थी पठनपाठन गर्ने यस विद्यालयमा केही सीमितबाहेक यहाँ अधिकांश विद्यार्थी र शिक्षकहरू साताका यी दुई दिन मौलिक पोशाकमा सजिएर विद्यालय पुग्ने गर्दछन्। थरीथरीका पोशाकले कक्षाकोठामा बसेका विद्यार्थीहरूको विविधता पनि निकै आकर्षक देख्न सकिन्छ। विद्यालयको व्यवस्थाअनुसार प्रत्येक हप्ताको सोमबार र बिहीबार शिक्षक र विद्यार्थीहरू आ–आफ्नो जातीय पोशाकमा सजिएर विद्यालय आउने क्रम नियमित र व्यवस्थित पनि भइसकेको छ। केही समय अघिदेखि सुरु भएको यो कार्यमा अहिले विद्यार्थी र शिक्षक अभ्यस्त भइसकेका देखिन्छन्। कक्षा–८ की छात्रा निरुता राई विद्यालयले जातीय पोशाक लगाउने व्यवस्था गरेपछि मात्रै आफ्नो मौलिक पोशाकबारे बुझ्ने, लगाउने तरिका सिक्ने अवसर मिलेको बताउँछिन्। विद्यार्थीहरू सुरुसुरुमा जातीय पोशाक लगाउन असहज भए पनि अहिले यसैमा बानी परेको बताउँछन्। विद्यालय पोशाकभन्दा जातीय पोशाक लगाउन समय लाग्ने र खर्चिलो भए पनि यसैमा विद्यार्थी खुशी देखिन्छन्। पोशाकबारे व्यावहारिक जानकारी प्राप्त भएको विद्यार्थीहरूको अनुभूति छ। रानीटार माध्यमिक विद्यालयका प्रधानाध्यापक भक्तबहादुर राईका अनुसार सेवा क्षेत्रमा रहेको विविधतालाई उजागर गर्दै आफ्नो मौलिक पहिचान र संस्कृतिबारे जानकार बनाउन यो अभियान सुरु गरिएको हो। अन्य विद्यालयहरूमा राष्ट्रिय पोशाक लगाउने व्यवस्थाबारे आफूहरूले सुने पनि विविधता रहेका स्थानमा जातीय पोशाक लगाउने व्यवस्था गरेर नयाँ सन्देश दिन खोजिएको प्रधानाध्यापक राईको भनाइ छ। “सामाजिक विषयको पाठ्यक्रममै जात, धर्म, संस्कार, संस्कृति, बाजागाजा र पोशाकको पढाइ गर्नुपर्ने हुन्छ। त्यसैको सिलसिलामा यी विषयहरूको व्यावहारिक ज्ञान दिन यो व्यवस्था गरेका हौँ”, प्रअ राईले भने, “कक्षा १ देखि १२ सम्म नै तस्बीर देखाएर यो फलानो जातिको पोशाक भनेर देखाउनु, चिनाउनु, पढाउनुभन्दा यो गरेपछि हरेक कक्षाकोठा नै शैक्षिक सामग्री र मोडल बन्छ। त्यहीँ सिकाइ हुन्छ।” अभियानले पोशाक लगाउने सीपको विकास हुनुका साथै औपचारिक शिक्षाको व्यावहारिक ज्ञान हुने विद्यालयको ठम्याइ छ। आफ्नो पोशाकबारे जानकारी पाउँदा नयाँ पुस्ताबाट संस्कृति र परम्पराको निरन्तरता हुने देखिएको प्रअ राईले बताए। विद्यालयले अभियान सञ्चालनका लागि सबै अभिभावक, विद्यालय व्यवस्थापन समिति र वडाका जनप्रतिनिधिहरूसँग छलफल गरेको थियो। जातीय पोशाक खरिद गरी लगाउने बानी बसाल्न विद्यालयले एक वर्षअघि नै आह्वान गरेर यस वर्षदेखि नियमित गरेको हो। यद्यपि कमजोर आर्थिक अवस्थाका कतिपय विद्यार्थीले जातीय पोशाक खरिद गर्न सकेका छैनन् । “हरेक वर्ष चाडपर्वमा लुगा कपडा किन्दा आफ्नो जातीय पोशाक पनि खरिद गर्न सबै अभिभावकहरूलाई विद्यालयले आग्रह गर्दै आएको छ”, प्रअ राईले भने, “थोरै पैसा बचत गर्दा रानीटार जातीय पहिचान झल्काउने र पोशाकबारे व्यावहारिक ज्ञान दिन सम्भव हुने देखियो ।” जातीय पोशाक खरिद गर्दा नसकेका १० जना विद्यार्थीलाई विद्यालयले खरिद गरिदिन लागेको छ भने अन्यलाई पोशाक खरिद गरिदिन वडा कार्यालयसँग माग गरेको छ। यस्तै नेपाल आदिवासी जनजाति महासङ्घको वडा समिति र जातीय सङ्घ सङ्गठनहरूलाई पनि पोशाक खरिदमा सहयोग गरिदिन आग्रह गरिएको प्रअ राईले बताए। पोशाक लगाउने अभियानले थप सकारात्मक उपलब्धि पनि दिएको छ। यहाँका सबै समुदायका विद्यार्थी अहिले आफ्नो जातीय नृत्य प्रस्तुत गर्न र गीत गाउन सक्ने भएका छन्। हालै यस विद्यालयमा आयोजित सम्मान कार्यक्रममा सबै जातिका विद्यार्थीले आ–आफ्नो जातीय नृत्य प्रस्तुत गरेका थिए। “गुरुङले रोदी, तामाङले सेलो, राईले साकेला, लिम्बूले च्याब्रुङ, ब्राह्मण क्षेत्रीले सँगीनी नाच्न सक्ने, आवश्यक परेको खण्डमा यहाँका विद्यार्थीले बाहिर गएर प्रशिक्षणसमेत दिन सक्दछन्”, सहायक प्रधानाध्यापक वीरेन्द्र अधिकारीले भने। विद्यालयले सञ्चालन गरेको अभियानलाई वडा कार्यालयले समेत सहयोग गर्ने भएको छ। वडाध्यक्ष रुपेन्द्र तामाङ जातीय पोशाक लगाउने अभियान ऐतिहासिक भएको बताए। “सुरुआतमा कठिन परे पनि अभियान व्यवहारमा अवलम्बन भइसकेको छ। अभियानसँग विद्यार्थी र अभिभावकहरू सकारात्मक हुनुभएको छ”, वडाध्यक्ष तामाङले भने, “अभियानले बाल मस्तिष्कमा भाषा, लिपि, संस्कृतिको जगेर्नाका लागि एकदमै सकारात्मक छाप परेको छ।” आगामी दिनमा भाषिक शिक्षाको समेत व्यवस्था गर्न र जातीय पोशाक लगाउने अभियानलाई निरन्तरता दिई पूर्णता बनाउन वडाले सहयोग गर्ने उनले बताए। यसअघि पाँचथरको फालेलुङ गाउँपालिका–६ मा अवस्थित दीपज्योति आधारभूत विद्यालयले राष्ट्रिय पोशाक लगाउने अभियान चलाएको थियो।
खडेरीले सुक्यो गहुँबाली: वर्षा नहुँदा मकै रोप्न ढिलाइ गलेश्वर। लगातारको खडेरीले म्याग्दीसहित धौलागिरि क्षेत्रमा लगाइएको गहुँबाली सुकेको छ। यो वर्ष हिउँदे वर्षा नहुँदा गहुँबाली सुकेको किसानले बताएका छन्। फागुन अन्तिमसाता लागिसक्दासमेत हिउँदे वर्षा हुन सकेको छैन्। बेनी नगरपालिका–२ का किसान चन्द्रबहादुर कार्कीले लामो समयदेखिको खडेरीका कारण गहुँबाली सुकेको बताए। “खडेरीका कारण गहुँबाली सुकेको छ भने खेत बाँझै छन्, पानी नपर्दा बाँझो जमिनमा मकै रोप्नसमेत ढिलाइ भएको छ”, उनले भने। गहुँबाली सुकेपछि यहाँका किसान चिन्तित छन्। सिँचाइको सुविधा नभएका ठाउँमा खडेरीको प्रभाव बढी परेको किसानहरुले बताएका छन्। सिँचाइ सुविधा नभएकै कारण खेतमा लगाएको गहुँबाली सुकिसकेको पुलाचौरका किसान टेकबहादुर विकले बताए। उनले भने “खडेरीका कारण अधिकांश गहुँबाली सुकिसकेको छ। अझै पानी पर्ने छाँटकाँट छैन्। यो वर्ष भोकमरी हुने सम्भावना बढेको छ।” खडेरीले गहुँबाली सुकेपछि घरपरिवार कसरी पाल्ने भन्ने चिन्ता थपिएको मालिका गाउँपालिका–५ का किसान डेकबहादुर बूढा बताउँछन्। खडेरीका कारण जनजीवन प्रभावित भएको उनको भनाइ छ। सिँचाइ सुविधा नभएका उच्च लेकाली र हिमाली क्षेत्रमा गहुँबाली सुकेको उनले बताए। हिमपात हुने समयमा पानी नपरेपछि बालीनाली हुर्कन नपाइ सक्दै गएको किसानको भनाइ छ। बर्खेबालीमध्येको मकैमा जङ्गली जनावरले क्षति पुर्‍याउँदा हरेक वर्ष उत्पादनमा कमी आउन थालेको छ। हिउँदमा खडेरीका कारण उत्पादनमा कमी आउने तथा वर्षामा जङ्गली जनावरले क्षति पुर्‍याउने गरेको किसानहरु बताउछन्। यसरी उत्पादन घट्दै गएपछि खाद्यान्न आयातमा वृद्धि हुने उनीहरुको भनाइ छ। म्याग्दीमा कूल ३० हजार आठ सय ५६ हेक्टर खेतीयोग्य जमिन रहेकोमा १९ हजार चार सय ९८ हेक्टर जमिनमा खेती हुँदै आएको छ। खेती गरिएकोमध्ये छ हजार १३ हेक्टर अर्थात् ३० दशमलव ८ प्रतिशत मात्रै सिञ्चित जमिन छ। एक हजार छ सय ८० हेक्टरमा बाह्रैमहिना सिँचाइ हुन्छ भने चार हजार तीन सय ३३ हेक्टर जमिनमा मौसमी सिँचाइ हुने गरेको छ। खेतबारीमै सुक्न थाल्यो बाली यसवर्षको हिउँदयाममा हिमपात र वर्षा नभएपछि हिउँदेबाली खेतबारीमै सुक्न थालेका छन्। अघिल्लो वर्ष माघ तेस्रो सातासम्म तीन पटक हिमपात भएको थियो। यसवर्ष फागुन अन्तिमसातासम्म पनि हिमपात र वर्षा हुन सकेको छैन। हिमपात र वर्षा नहुँदा बेँसीबाट हिमाली क्षेत्रसम्म गरिएको हिउँदेबाली खेतबारीमै सुक्न थालेका छन्। सिँचाइको अभावले गहुँ, जौँलगायत हिउँदे खेती खेतबारीमै सुक्न थालेको धवलागिरि गाउँपालिका–२ लमसुङका पलु पुनले बताए। “यो समयमा गत वर्ष तीन पटक हिमपात भएको थियो, तर यस वर्ष अहिलेसम्म हिमपात भएको छैन, गत असोजयता वर्षा समेत भएको छैन, हिउँदेबाली खेतबारीमै सुक्न लागेका छन्”, उनले भने। खेतमा लगाएको गहुँ, जौंँसँगै तरकारी खेतीमा समेत सिँचाइ गर्न समस्या भएको धवलागिरि गाउँपालिका–७ ताकमका स्थानीय दीपक सुवेदीले बताए। हिमपातको प्रतिक्षामा किसान यहाँका किसान सिँचाइका लागि हिमपात र वर्षाको पर्खाइमा छन्। हिमपात नहुँदा हिउँदे बालीमा सिँचाइको अभाव भएपछि अन्नबालीको उब्जनी घट्ने सम्भावना बढेको मुनाका किसान थमबहादुर घर्तीको भनाइ छ। समयमै हिउँ नपर्दा पानीका मूल सुक्ने, असिनापर्ने र त्यसले बालीनालीमा क्षति पुर्‍याउने भएकाले यहाँका किसान हिमपातको पर्खाइमा छन्। हिमपात नभएपछि हिमशृङ्खला कालापत्थर देखिन थालेका छन्। हिउँले सेताम्मे ढाकिनुपर्ने हिमालमा हिउँ पग्लिन थालेको छ। पुसदेखि माघसम्म सेताम्मे देखिनुपर्ने हिमालमा यसवर्ष हिमपातमा ढिलाइ हुँदा हिउँ पग्लिएर हिउँको मात्रा घट्दै गएका छन्। जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा प्रत्यक्षरूपमा पारेको स्थानीयवासीको भनाइ छ । हिउँ पग्लिएपछि हिमाल नागिँदै गएका छन्। पछिल्लो वर्षमा हिमपात पर्ने समय नै परिवर्तन भएको छ। मौसम फेरिएर पुस–माघमा हिउँ नपर्ने र फागुन–चैतमा हिउँ पर्ने गरेको स्थानीय बताउँछन्। हिउँ नपरेपछि धवलागिरि, नीलगिरि, अन्नपूर्ण, गुर्जा, चुरेलगायत हिमाल रङ उडेझैं फिक्का देखिन थालेका छन्। मौसमी हिमपात हुन छाडेर बेमौसमी हिमपात हुन थालेपछि स्थानीयवासीले हिमाली तथा उच्च पहाडी क्षेत्रमा जलवायु परिवर्तनको असर महसुस गर्न थालेको धवलागिरि गाउँपालिका–१ गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए। समयमा हिमपात नहुँदा हिमालमा हिउँको मात्रा घट्दै जाँदा हिमाल काला पहाड जस्ता देखिन थालेको र जङ्गली फूलहरूमासमेत त्यसको प्रभाव देखिएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोरेपानीका पर्यटन व्यवसायी क्याप्टेन डमबहादुर पुनले जानकारी दिए।
काठमाडौंबाट सौराहा घुम्न आएका एक युवकको राप्ती नदीमा डुबेर मृत्यु चितवन। काठमाडौंबाट चितवनको सौराहा घुम्न आएका एक युवकको राप्ती नदीमा डुबेर मृत्यु भएको छ। काठमाडौं महानगरपालिका महाकाल घर भएका २४ वर्षीय सन्देशप्रसाद बडालको राप्ती नदीमा डुबेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय टाँडीका डीएसपी अनिल खड्काले दिएको जानकारी अनुसार सौराहाको होटल हर्मिटेजमा फागुन १९ गते थप ३ जना साथीसहित बडाल पनि आएरसँगै बसेका थिए। २० गते राति साथीहरु मिलेर रमाउँदा बडाल खोलामा पुगेको अनुमान गरिएको छ। उनको आइतबार दिउँसो २ः३० बजे शव फेला परेको हो।
आयुर्वेद क्याम्पसमा सहमति, खुल्यो ताला कीर्तिपुर। आयुर्वेद क्याम्पसका विद्यार्थीलाई छ महिनासम्म नरदेवी अस्पतालमा इन्टर्नसिप गराइने सहमति भएपछि कीर्तिपुरस्थित आयुर्वेद क्याम्पसमा लागेको ताला खुलेको छ। विद्यार्थीहरूले कीर्तिपुरस्थित क्याम्पसमा भौतिक संरचना अपर्याप्त रहेकोे भन्दै नरदेवी अस्पतालमा इन्टर्न गर्न दिइनुपर्ने माग गरेका थिए। साथै कीर्तिपुर क्याम्पसमा विद्यार्थीलाई सिकाउन पुग्ने गरी आवश्यक बिरामी सङ्ख्यासमेत नभएकाले दक्ष आयुर्वेदका चिकित्सक उत्पादनसमेत नहुने जिकिर उनीहरूको थियो। विद्यार्थीका मागलाई क्याम्पस प्रशासनले सम्बोधन नगरेपछि नौ दिनअघि उनीहरूले तालाबन्दी गरेका थिए। यसै क्रममा आज आन्दोलनरत विद्यार्थी, क्याम्पस प्रशासन र मेडिकल काउन्सिलसमेतको बैठकमा विद्यार्थीको मागअनुरुप छ महिना नरदेवी आयुर्वेद अस्पतालमा इन्टर्नसिप गर्न पाउने सहमति भएको विद्यार्थी आन्दोलनका संयोजक डा सुनिल भुसालले जानकारी दिए। “एक इन्टर्नसिपका लागि कम्तीमा दुई सय शय्याको आयुर्वेद अस्पताल चाहिन्छ र त्यसमा कम्तीमा एक सय शय्या बिरामीले भरिएको हुनुपर्छ। तर क्याम्पस प्रशासनले हामीलाई २५ जना मात्र बिरामी हुने अस्पतालमा पूरै इन्र्टनसिप गराउन थाल्यो”, उनले भने, “यसबाट परीक्षामा उत्तीर्ण भएको तर १० जना बिरामीको उपचारमा संलग्न नभएकालाई आयुर्वेद चिकित्सको प्रमाणपत्र दिनुपर्ने भयो।” समस्या समाधानका लागि आज आन्दोलनरत विद्यार्थी, क्याम्पस प्रशासन र नरदेवी अस्पताल प्रतिनिधिबीच बैठक भएको थियो। बैठकमा आयुर्वेद क्याम्पसका विद्यार्थीलाई कम्तीमा छ महिना नरदेवी आयुर्वेद अस्पतालमा इन्टर्नसिप गर्न दिइने सहमति भएको थियो। सहमतिअनुसार आयुर्वेद चिकित्साको सैद्धान्तिक तह उत्तीर्ण गर्ने ३० विद्यार्थीमध्ये १५ जनाले नरदेवी क्याम्पसमा इन्टर्न गर्ने छन् भने १५ जनाले कीर्तिपुरमै इन्टर्नसिप गर्ने छन्। त्यसलाई छ महिनापछि अदलीबदली गरी सुरुमा नरदेवीमा गरेकाका लागि कीर्तिपुरमा र सुरुमा कीर्तिपुरमा गरेकालाई नरदेवीमा इन्टर्नसिप गराइने छ। यसअघि नरदेवी आयुर्वेद अस्पतालमा भौतिक संरचना नपुग्ने भन्दै विद्यार्थीलाई कीर्तिपुरस्थित आयुर्वेद क्याम्पस र आयुर्वेद अनुसन्धान केन्द्रमा मात्र इन्टर्नसिप गर्न दिने गरिएको थियो। बैठकमा सहभागी नेपाल आयुर्वेद मेडिकल काउन्सिलका अध्यक्ष डा सन्तोषकुमार ठाकुरले कीर्तिपुुरस्थित आयुर्वेद क्याम्पसलाई एक सय शय्याको सुविधासम्पन्न अस्पतालमा विकास गर्नसके इन्टर्नसिपको समस्या निराकरण हुने बताए। विद्यार्थी संयोजक भुसालले भने नरदेवी अस्पताल स्थापनाको एक सय वर्ष पुग्दा पनि एक सय शय्यामा सीमित हुनु र आयुर्वेद क्याम्पसले स्थापनाको ५० वर्ष पार गर्दा पनि ५० शय्यामै सीमित रहनुले आयुर्वेद चिकित्सालाई बेवास्ता गरिएको देखाउने बताए।
धनकुटाबाट १ सय ६ केजी गाँजा बरामद धनकुटा। धनकुटाको साँगुरीगढी गाउँपालिका ८ बाट प्रहरीले १०६ किलोग्राम गाँजा बरामद गरेको छ। कोसी राजमार्गको धरान-धनकुटा सडकमा रोकिराखेको को १ ज १८११ नम्बरको पिकअप गाडीबाट उक्त परिणामको गाँजा बरामद गरेको प्रहरीले जनाएको छ। गाडी चालक भने फरार रहेको बताइएको छ। शनिबार फेला परेको उक्त गाँजा कहाँबाट ल्याइएको र कहाँ लैजान लागिएको भन्ने यकिन हुन नसकेको जिल्ला प्रहरी कार्यालयका निरीक्षक मानबहादुर श्रेष्ठले जानकारी दिए। गाडीका चालक फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीको भनाइ छ।
नेपाल एयरलाइन्सका दुई महिला पाइलटको पहिलो अन्तर्राष्ट्रिय उडान काठमाडौं। राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)का दुई महिला विमानचालक (पाइलट)ले पहिलो अन्तर्राष्ट्रिय उडान गरेका छन्। निगमको उडान इतिहासमै पहिलो पटक महिला पाइलटले अन्तर्राष्ट्रिय उडान (काठमाडौँदेखि दुबई) भरेका हुन्। पाइलटद्वय भावना पन्त र कोपाइलट सिर्जना राउतको टोलीले आज काठमाडौँ–दुबईका लागि अन्तर्राष्ट्रिय उडान गरेको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन्। “पाइलटद्वय भावना पन्त र सिर्जना गिरीले पहिलो पटक अन्तर्राष्ट्रिय उडान गर्नुभएको हो, निगमको उडान इतिहासमा यो पहिलो रेकर्ड पनि हो, आन्तरिकमा महिला पाइलटले उडाएको रेकर्ड छ, तर, अन्तर्राष्ट्रियमा यो पहिलो हो”, उनले भनिन्। निगमका अनुसार दुई महिला पाइलटले निगमको एयरबस ए–३२० जहाज शनिबार राति ११ बजे काठमाडौँबाट दुबईका लागि उडान भरेका हुन् । उनीहरू दुबईबाट यात्रु लिएर बुधबार बिहान काठमाडौँ फर्कने उडान तालिका रहेको छ। बुधबार अन्तर्राष्ट्रिय महिला दिवसका दिन यो उडानमा सम्पूर्ण चालक दलका सदस्यहरू महिला हुने जनाइएको छ। निगमसँग अन्तर्राष्ट्रिय उडानमा चारजना न्यारोबडीमा र एक जना वाइडबडीमा गरी पाँच जना महिला पाइलट छन्।
गण्डकी प्रदेश वृत्तचित्र सार्वजनिक काठमाडौं। नेपाललाई ‘फिल्मिङ् डेस्टिनेशन’को रुपमा प्रवर्द्धन गर्ने उद्देश्यसहित तयार भएको गण्डकी प्रदेशको वृत्तचित्र सार्वजनिक भएको छ। फिल्म छायांकनको लागि खुल्ला स्टुडियोको रुपमा नेपाललाई प्रवद्र्धन गर्ने हेतुले श्रव्यदृश्य सामग्री निर्माणको पहिलो चरणमा यो वृत्तचित्र सार्वजनिक गरिएको हो। करिब १० मिनेट लम्बाई रहेको यस वृत्तचित्रमा गण्डकीका केही प्रमुख छायांकन सम्भावित स्थलहरु समेटिएको छ। यो वृत्तचित्र सुयोग गुरुङले निर्देशन गरेका हुन्। प्रविधिको बढ्दो प्रयोगसँगै श्रव्यदृश्य सामग्रीमार्फत पनि प्रचारप्रसार हुनुपर्ने आवश्यकता महशुस गरी बोर्डले वृत्तचित्र निर्माण गरी पछिल्लो समय संयुक्त अरब ईमिरेट्समा भएको ’नेपाल चलचित्र फेस्ट’मा प्रदर्शन गरिएको थियो। बोर्ड अध्यक्ष भुवन केसीले यसप्रकारले सातै प्रदेशमा रहेका छायांकन सम्भावित क्षेत्रहरुलाई समेटेर श्रव्यदृश्य सामग्री बनाउँदै जाने बताए। ‘यस प्रकृतिका सामग्रीहरु बोर्डले निरन्तर बनाउँदै विश्वव्यापी पुर्‍याउनेछ। नेपाललाई राष्ट्रिय तथा अन्तराष्ट्रिय चलचित्र छायांकनको लागि खुल्ला स्टुडियोको रुपमा विश्वव्यापी प्रवद्र्धन गर्ने योजनाअनुरुप हालको लागि गण्डकी प्रदेशमा रहेका केहि प्रमूख छायांकनस्थलहरु समेटिएको वृत्तचित्र सार्वजनिक गरेका हौँ,’ उनले भने। नेपालमा चलचित्र क्षेत्रको विकास र प्रवद्र्धनमा सरकारको गहिरो चासो रहेको र सोही अनुरुप चलचित्र विकास बोर्डले काम गरिरहेको बोर्डका सूचना अधिकारी चिरञ्जीवी गुरागाईंले बताए। ‘बोर्डले स्पष्ट रूपमा नेपालमा चलचित्रको भिन्न पक्षको प्रवद्र्धनमा सहयोग गर्ने वातावरण सिर्जना गरेको छ। नेपालमा नेपाली चलचित्रहरूको मात्र नभई विश्वका ठुला चलचित्र उद्योगहरुमा बनिरहेका चलचित्रहरुको समेत छायांकन हुँदै आएको छ। यसलाई ठुलो संख्यामा विकास गर्ने उद्देश्यस्वरुप प्रवर्द्धनात्मक सामग्रीहरु बोर्डले प्रकाशन तथा निर्माण गर्ने उद्देश्य लिएको छ। यसबाट चलचित्र पर्यटनको उल्लेख्य विकास हुने बिश्वास लिएका छौँ’, गुरागाईंले भने। बोर्डले गत २०७६ सालमा लोकेशन गाइडको रुपमा विश्वव्यापी प्रयोग हुने उद्देश्यसहित ’फिल्मिङ इन नेपाल-भोल्यूम १’ पुस्तक पनि प्रकाशन भएको थियो।
कक्षा १२ को परीक्षा वैशाख २६ गतेदेखि (तालिकासहित) काठमाडौं। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) सानोठिमी भक्तपुरले कक्षा १२ को परीक्षा वैशाखमा गर्ने निर्णय गरेको छ। जसअनुसार बोर्डले परीक्षा तालिकासमेत प्रकाशित गरेको छ। वैशाख २६ गते मंगलबारदेखि परीक्षा सुरू हुनेछ। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ। परीक्षा जेठ ५ गते शुक्रबारसम्म चल्नेछ।
विश्वप्रसिद्ध अवार्ड जितेलगत्तै सन्दुक रुइत पुगे जन्मगाउँको आँखा शिविर ताप्लेजुङ । विश्वप्रसिद्ध बहराईन सरकारको ईशा अबार्ड प्राप्त गरेका वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइत यति खेर आफनै गृह  जिल्लाकाे आँखा शिविरमा पुगेका छन् । गत ९ फागुनमा बहराइनका राजा सेख हमद विन इसा अल खालिफाको हातवाट विश्व प्रसिद्ध अवार्ड ग्रहण गरे पछि पहिलो पटक उनी गृह जिल्ला आइपुगेका हुन । शनिबारदेखि आफ्नै जन्म गाउँ ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा ७ ओलाङचुंगोला नि:शुल्क आँखा शिविरमा ब्यस्त छन्  । आइतबारसम्म जारी रहने आँखा शिविरमा बिरामीहरुको आँखाको शल्यक्रियासमेत गरिरहेका हुन् । उनको नेतृत्वमा रहेको चिकित्सक तथा आँखा प्राविधिकको टोलीले शनिवार र आइतबार फक्ताङलुङ गाउँपालिकाको केन्द्र तापेथोकमा शल्यक्रिया सहितको आँखा शिविर सञ्चालन गर्नेछ। सो अभियानका अभियन्ता मिङ्माडण्डु शेर्पाका अनुसार प्रतिष्ठित ईसा अवार्ड प्राप्त गरेपछि उनी शल्यक्रिया सहितको नि:शुल्क आँखा शिविर कार्यक्रम लिएर पूर्वी नेपाल छिरेका हुन् । यो शिविर अघि उनले तेह्रथुम जिल्लाका विभिन्न स्थानमा नि:शुल्क आँखा शिविर सञ्चालन गरेर ताप्लेजुङ आएका हुन् ।
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु काठमाडौँ। देशका विभिन्न स्थानमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। ओखलढुंगाको दियालेको राहुटार भन्ने स्थानमा बोलेरो जिप दुर्घटना हुँदा चिशङ्खुगढी–३ का ७० वर्षीय भक्तबहादुर थापा र ५२ वर्षीय मीनबहादुर श्रेष्ठको मृत्यु भएको छ। चिशङ्खुगढी गाउँपालिकाबाट ओखलढुङ्गाको सदरमुकाम जाँदै गरेको उक्त जिप दुर्घटनामा परेर ११ जना घाइते भएका छन्। घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको र केहीलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाइएको ओखलढुंगा प्रहरीले जनाएको छ। यसैगरी, धनुषाको लक्ष्मीनिया गाउँपालिका–४ मा ट्याक्टरलाई ठक्कर दिएर मोटरसाइकल पल्टिदा मोटरसाइक चालक स्थानीय ४५ वर्षीय राम एकवाल ठाकुर र पछाडी सवार ६० वर्षीय सतो साह सुडीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पुर्‍याउनसाथ चिकित्सकले मृत घोषणा गरेका थिए। महेन्द्रनगरबाट लक्ष्मीनिया तर्फ जादै गरेको ज १ त ५२ ४५ नम्बरको ट्याक्टरको टेलरमा सोही दिशा तर्फ जादै गरेको ज १० प ६४ २९ नम्बरको मोटरसाइकल ठोक्किएर पल्टिएको थियो। दुवै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने ट्याक्टर चालक फरार भएकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ। धनुषाकै गणेशमान चारनाथ नगरपालिका ९ बरमझियामा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा पछाडि सवार शहिदनगर नगरपालिका–९ कि ४५ वर्षीया कुमारीदेवी मण्डलको मृत्यु भएको छ। मोटरसाइकल चालक मृतक कुमारीदेवीको छोरा २८ वर्षीय उदय कुमार मण्डल घाइते भएकाले प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ। धादिङको बेनिघाट रोराङ गाँउपालिका ३ हिलटपमा सवारी साधनको ठक्करबाट पैदलयात्री एक पुरुषको मृत्यु भएको छ। मृतकको नाम थर वतन खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
सहकारीको सहयोगमा स्वरोजगार बन्दै महिला घोराही। पछिल्लो समय सहकारी संस्थाका कारण दाङका महिला स्वरोजगार बन्दै गएका छन्। जिल्लामा खुलेका सहकारी संस्था महिलाका लागि आम्दानीको स्रोत बन्दै गएका हुन्। विगतमा घरको काम र घाँसपातमा व्यस्त हुने महिला गाउँघरमा सहकारी खुलेपछि अहिले आफ्नो र परिवारका लागि रकम जम्मा गर्नाका साथै ऋण लिएर आयआर्जनसमेत गर्न थालेका छन्। बेफुर्सदिला हुन थालेका जिल्लाका अधिकांश महिलाले रकम झिक्ने र राख्ने गर्दा सहकारी संस्था पनि फलदायी तथा नाफामुखी बन्दै गएका छन्। महिलाले सञ्चालन गरेका सहकारीका कारण अन्य स्थानीय महिलाले पनि गाउँमै रोजगारीसमेत पाएको घोराही उपमहानगरपालिका–१८ फुर्सेखालीस्थित एकता महिला बहुउद्देश्य सहकारी संस्थाका अध्यक्ष रेबा अधिकारीले बताए। यो संस्था स्थापनाकालदेखि महिलाकै नेतृत्वमा सञ्चालन हुँदै आएको छ। यस्ता सहकारी संस्थामार्फत महिलालाई सशक्तीकरण गराउनाका साथै आर्थिक स्थितिमा समेत विगतको तुलनामा निकै सुधार आएको उनको भनाइ थियो। संस्थामा आवद्ध महिलामा थोरै भए पनि बचत गर्नुपर्छ भन्ने बानीको विकास भएको अध्यक्ष अधिकारीले उल्लेख गरिन्। “संस्थामा बचत गरेको रकमले आफूलाई समस्या परेको समयमा निकालेर समस्या समाधान गर्न सकिन्छ,” उनले भनिन्। विसं २०५५ मा स्थापना भएको यस सहकारी संस्थाले विशेष गरेर महिला स्वरोजगारको पाटोलाई बलियो बनाउँदै लगेको छ। संस्थामा हालसम्म आवद्ध पाँच सय १४ सदस्य मार्फत रु पाँच करोड बराबरको कारोबार गर्न सफल भएको छ। संस्थाले मुख्यत बचत र ऋण कारोबारसँगै सदस्यलाई विभिन्न आयआर्जनमा समेत जोड्दै लगेको छ। घोराही उपमहानगरपालिका–१८ हात्तीखर्क निवासी सदस्य रीता नेपालीले विगत लामो समयदेखि बेसारखेती गर्दै आएकी छन्। सदस्यले उत्पादन गरेको बेसारलाई सहकारीले प्रतिकिलो रु तीन सयमा बिक्री वितरण गर्दै आएको छ। रीताजस्तै यहाँका धेरै महिला दिदीबहिनीले बेसारखेती गर्दै आएकी छन्। घरमा खाली बस्नुभन्दा केही गर्नुपर्छ भन्ने सोचका साथ बेसार खेती गर्दै आएको उनको भनाइ थियो। सहकारी संस्थामा आवद्ध सदस्यहरुका उत्पादनलाई संस्थाले चाना काटेर, सुकाएर र पिसाएर बेच्ने गर्दै आएको छ। स्थानीयस्तरमा सञ्चालन हुने मेला महोत्सवमा पनि उक्त संस्थाले बेसार बेच्ने गरेको छ। हात्तीखर्क बेसार खेतीका लागि राम्रो सम्भावनाको क्षेत्र रहेको छ। संस्थामा आवद्ध सदस्यहरुले पर्याप्त मात्रामा बेसार उत्पादन गरेपनि बजारीकरणका लागि भने केही समस्या रहेको सहकारीकी उपाध्यक्ष सुनकुमारी विष्टले बताइन्। हामी सबै सदस्यहरु बाहिरको बेसारभन्दा संस्थाबाटै किनेर लैजाने गरेको उनले जानकारी गराइन्। वार्षिक रु एक लाखभन्दा बढी आम्दानी गर्ने संस्थाले बेसार पनि बिक्री गर्दछ। सदस्यहरुले ले मासिक रु पाँच सयदेखि दुई हजारसम्म सहकारीमा बचत गर्नाका साथै ऋण लिएर विभिन्न तरकारीखेती, किराना पसल अन्य उद्यम तथा व्यवसाय गर्दै आएका छन्। यस्तै सोही ठाउँका कबल बुढाले पनि अल्लो व्यवसाय गर्दै आएकी छन्। सहकारीबाट सहुलियतमा ऋण लगेर उनले अल्लोको व्यवसाय गर्दै आएकी हुन्। आगामी दिनमा स्थानीय तहमार्फत केही सहयोग पाएमा संस्थामा आवद्ध सदस्यलाई विभिन्न सीपमूलक कार्यमा जोड्न सकिने अध्यक्ष अधिकारीले बताइन्। सहकारीले विभिन्न समयमा सीपमूलक तालिमका साथै सहकारी सचेतना जागरण तालिम प्रदान गर्दै आएको छ। तालिममा सहकारीको महत्व, सहकारीको सिद्धान्त, सहकारीको भूमिका, बचत किन, बचतका फाइदा, सहकारीका ऐन, नियम, लैङ्गिक हिसा न्यूनीकरणलगायत विषयमा जानकारी दिइन्छ। साथै संस्थाले कुनै सदस्यको मृत्यु भएमा रु १० हजार र सुत्केरी भएको बेला रु दुई हजार सहयोग उपलब्ध गराउँदै आएको छ।
बहिनीमाथि यौन हिंसा गर्ने दिदी पक्राउ, भिडियो बनाएर पुरुष साथीलाई पठाएको दाबी भक्तपुर। आफ्नै नाबालिग बहिनीमाथि यौन हिंसा गरेको आरोपमा दिदी पक्राउ परेकी छन्। बहिनीसँग यौनजन्य गतिविधि गर्दै त्यसको भिडियोसमेत बनाएर पुरुष साथीलाई पठाएको आरोपमा महिललाई पक्राउ गरेको भक्तपुर प्रहरी परिसर सूचना अधिकारी कुमारप्रसाद मैनालीले जानकारी दिए। उनका अनुसार बहिनीसँंग यौनजन्य गतिविधि गरेर सोको भिडियो बनाएर आफ्नो पुरुष साथीलाई जिमेलमार्फत पठाएको खुल्न आएको छ। पक्राउ परेकी महिलामाथि थप अनुसन्धान गरिरहेको उनले बताए। यसअघि गत जेठ ६ गते इन्टरपोल्स क्राइम एगेष्ट चाइल्ड युनिटबाट बालिकालाई यौन दुरुपयोग गरेकोसम्बन्धी सूचना नेपाल प्रहरीको इन्टरपोल शाखाको प्राप्त भएको थियो। प्रहरी प्रधान कार्यालय साइवर व्युरोबाट प्रारम्भिक अनुसन्धन भई थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी परिसमा गत २० पुसमा प्राप्त भई अनुसन्धान थालेको परिसले जनाएको छ।
अख्तियारमा कर्णालीका ७२ वटा पालिकाविरुद्ध ४८१ वटा उजुरी सुर्खेत। कर्णालीका ७९ पालिकामध्ये ७२ वटा पालिकामा ४८१ वटा उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ। अनियमितता बढी हुने गरेको प्रदेशका रुपमा लिइए पनि पछिल्लो समय रिसईवीका कारण दुःख दिन उजूरी अख्तियारमा पठाउने गरेको पनि पाइएको छ। उपभोक्ता समितिमा भागबण्डा नमिल्दा, ठेक्का भएका योजनाहरुमा काम नपाउँदा लगायतका कारणले दुःख दिने नियतले प्रायः उजुरी आउने भए पनि कर्णालीका विकट ठाउँमा कामठग प्रवृत्ति मौलाउँदो छ। ९ स्थानीय तह रहेको सुर्खेतमा ५९ वटा उजुरी रहेको छ। सबैभन्दा बढी गुर्भाकोटबाट २२ उजुरी परेको छ। दैलेखका ११ स्थानीय तहमा ९६ वटा उजुरी अख्तियारमा दर्ता भएका छन् । जसमा नारायण नगरपालिकाबाट २३ वटा अनियमितताका उजुरी दर्ता भएको छ। कालीकोटका नौ स्थानीय तहमध्ये ५४ वटा उजूरी दर्ता छन्। सबैभन्दा बढी खाँडाचक्र नगरपालिकामा १३ वटा रहेको छ भने सबैभन्दा कम पचालझरनामा १ वटा अनियमितताको उजुरी परेको छ। जुम्लाका ८ स्थानीय तहमध्ये सिँजा गाउँपालिका र तातोपानी गाउँपालिकाबाट एउटा पनि उजुरी परेको छैन। जुम्लाका बाँकी ६ वटा स्थानीय तहबाट ३८ वटा उजुरी दर्ता भएका छन्। सबैभन्दा बढी उजुरी सदरमुकाम समेत रहेको चन्दननाथ नगरपालिकाबाट २३ वटा उजुरी दर्ता भएको छ । मुगुका चार स्थानीय तह रहेकोमा मुगूम कर्मारोङ गाउँपालिकाबाहेक अन्य तीनवटा स्थानीय तहबाट ४९ वटा उजुरी दर्ता भएकोमा सबैभन्दा बढी सदरमुकाम गमगढीमा रहेको छायाँनाथ रारा नगरपालिकाबाट २६ वटा उजूरी दर्ता भएको अख्तियार अनुसन्धान दुरुपयोग आयोग सुर्खेतले जनाएको छ। डोल्पाका ८ वटा पालिका रहेकोमा छार्कातोङसोङ र डोल्पोवुद्ध गाउँपालिकाबाट उजुरी परेको छैन। त्यहाँ सञ्चार माध्यमको पहुँच नहुनुका साथै जनसम्पर्क समेत काम हुने भएकाले उजुरी नपरेको हो। काठमाडौँ बसेर डोल्पाको तलब खाने कर्मचारी यिनै दुइ पालिकामा पर्दछन्। मंसिरदेखि फागुनसम्म काठमाडौँ बसेर उत्तैबाट तलब भत्ता बुझेको यी दुई पालिकाका कर्मचारीले सेवा प्रवाहसमेत बन्द गरेका थिए। अन्य ६ वटा पालिकाबाट १८ उजुरी परेको छ । सबैभन्दा बढी जगदुल्ला गाउँपालिकाबाट ८ वटा उजूरी दर्ता भएको छ । हुम्लाको सातवटा स्थानीयमध्ये अन्य पालिकाबाट ३९ वटा उजुरी परेको छ। सबैभन्दा बढी अदानचुली गाउँपालिकाबाट मात्रै १४ वटा उजुरी रहेको छ। जाजरकोटका सातवटा पालिकाबाट ४३ वटा उजुरी अख्तियारको कार्यालयमा दर्ता भएको छ। सल्यानका १० वटै पालिकाबाट ३४ वटा, रुकुम पश्चिमका ६ स्थानीय तहबाट २३ वटा उजूरी दर्ता भएको छ । चालु आर्थिक वर्षको सात महिनाको अवधिमा कर्णालीका स्थानीय तहबाट ४ सय ८१ वटा उजूरी दर्ता भएका हुन्। जसमा गर्त आर्थिक वर्षबाट हेर्दै आएकोसहित गरेर २ सय ९६ वटा स्थानीय तहको उजूरी अहिले अख्तियारले अनुसन्धान गरिरहेको छ। कर्णालीमा उच्च हिमाली जिल्लाहरुबाट भौगलिक विकटता र योजनामा मिलोमत्तोका कारण पनि उजूरी कम पर्ने गरेको आंशका छ। सबैभन्दा मिलेमत्तो उपल्लो डोल्पाको छार्कातोङसोङ र डोल्पोवुद्ध हुने गरेको चर्चा समय , समयमा हुने गरेको छ। उपल्लो डोल्पामा अनुगमण तथा निरीक्षणका कुनै पनि काम नहुँने भएकाले त्यहाँ के भएको छ भन्ने जानकारी सम्मा नआउने गरेको छ। भौगोलिक विकटतालाई देखाउँदै त्यहाँ अनुगमणका काम नहुँदा लुट मचाउन सजिलो हुने गरेको हो। प्रदेश ,संघीय तथा स्थानीय तहले सञ्चालन गरेका कुनै पनि योजनाको अनुगमण तथा निरीक्षणको काम नहुने गरेको हो।
नागार्जुन नगरपालिकामा नेपाल टेलिकमको सेवामा समस्या काठमाडौँ। नागार्जुन नगरपालिकास्थित गुम्बाचोक लगायतका स्थानमा शुक्रबारदेखि नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ। वडा कार्यालयले तार व्यवस्थापन गर्ने सिलसिलामा टेलिकमको एरियल केबलमा क्षति पुर्‍याएपछि टेलिफोन, इन्टरनेट र टेलिभिजन सेवा अवरुद्ध भएको टेलिकमले जनाएको छ। कम्पनीका अनुसार एरियल केबलमा क्षति पुग्दा गुम्बाचोकका सयौं सेवाग्राहीहरु मर्कामा परेका छन्। नेपाल टेलिकमले शनिवार एक प्रेस विज्ञप्ती जारी गर्दै टेलिकमले पटक–पटक दूरसञ्चार सेवाहरु अवरुद्ध नगरिकन पूर्वाधार निर्माण र केबल व्यवस्थापनका कार्यहरु सम्पन्न गर्नका लागि सहयोग र समन्वयका लागि अनुरोध गरिरहँदा पनि कम्पनीका पूर्वाधारमा क्षति पुर्याई अत्यावश्यक सेवाहरु अवरुद्ध गरिएको प्रति कम्पनीले दुःख व्यक्त गरेको छ । साथै, अत्यावश्यक सेवाका रुपमा रहेका दूरसञ्चार सेवाहरु अवरुद्ध नगरिकन अन्य कार्यहरु सम्पन्न गर्नको लागि कम्पनीसँग सहकार्य र समन्वय गर्न पनि सम्बन्धित सबै निकायसँग पुःन अनुरोध गरेको छ । सेवा प्रवाहमा समस्या आएको क्षेत्रमा यथासम्भव छिटो मर्मत कार्य सम्पन्न गर्ने तयारी भइरहेको टेलिकमले जनाएको छ। केही समययता अन्य विभिन्न जनसरोकारका निकायले पूर्वाधार निर्माण, विस्तार, मर्मत, स्थानान्तरण एवं नगरपालिका र वडा कार्यालयले गर्ने केबल व्यवस्थापन कार्यका क्रममा दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायकले सेवा प्रवाह गर्न निर्माण गरेका कतिपय संरचनामा क्षति पुग्ने गरेको छ।
अछाम र काभ्रेपलाञ्चोकमा भूकम्प काठमाडौँ। अछाम र काभ्रेपलाञ्चोक केन्द्रविन्दु भएर दुई भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार अछामको पातलकोट र काभ्रेपलाञ्चोकको काशीखण्ड केन्द्रविन्दु भएर भूकम्प गएको हो। केन्द्रका अनुसार अछामको पातलकोट केन्द्रविन्दु भएर आज बिहान ८ बजेर ३५ मिनेटमा ४ दशमलव ४ रेक्टरस्केल र काभ्रेपलाञ्चोकको काशिखण्ड भएर आज बिहान ८ बजेर ३ मा ४ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएको छ।
ओखलढुंगामा बोलेरो दुर्घटना हुँदा दुईको मृत्यु, ११ घाइते ओखलढुंगा । ओखलढुंगामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । चिशङ्खुगढी गाउँपालिकाबाट ओखलढुंगाको सदरमुकाम जाँदै गरेको बोलेरो जीप वडा नं. ३ दियालेको राहुटार नजिकै दुर्घटना भएको हो । दुर्घटनामा परी चिशङ्खुगढी-३ का ७० वर्षीय भक्तबहादुर थापा र ५२ वर्षीय मीनबहादुर श्रेष्ठको मृत्यु भएको ओखलढुंगाका प्रमुख प्रहरी नायब उपनिरीक्षक दीपक केसीले जानकारी दिए। दुर्घटनामा परी ११ घाइते भएका छन्। तीमध्ये केहीलाई उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको चिशङ्खुगढी गाउँपालिकाका अध्यक्ष निशान्त शर्माले बताए। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । पाँच जना यात्रु बोक्ने क्षमता भएको बोलेरोमा १३ सवार थिए । क्षमताभन्दा बढी यात्रु बोकेका कारण बालेरो अनियन्त्रित भइ दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । घटनाको विस्तृत जानकारी आउन बाँकी छ ।
इन्टरनेट प्रोटोकल आईपीभी सिक्स कार्यान्वयनमा, डिशहोम ग्राहकलाई नयाँ प्रविधि काठमाडौँ। डिसहोम फाइबरनेटले नयाँ इन्टरनेट प्रोटोकल आईपीभी सिक्स (IPV6) कार्यान्वयनमा ल्याएको छ। कम्पनीले अङ्ग्रेजी नयाँ वर्ष २०२३ को सुरुवातबाट आईपीभी सिक्स प्रविधिमार्फत सेवा दिन थालेको छ। इन्टरनेटले जसरी काम गर्छ, त्यसमा इन्टरनेट प्रोटोकल एड्रेस अथवा आईपी एड्रेसको मुख्य भूमिका हुन्छ। हरेक डिभाइस तथा उपकरणलाई इन्टरनेटमा कनेक्ट गर्न र अन्य कम्प्युटर, नेटवर्क र डिभाइससँग सञ्चार गर्न आईपी एड्रेस जरुरत पर्दछ। इन्टरनेट प्रोटोकल भर्सन सिक्स त्यसैको नयाँ पुस्ता हो। विश्वभर भी फोरमा उपलब्ध सीमित आईपी एड्रेस वितरण भएर सकिएपछि आईपी भी सिक्स विकास गरिएको थियो। आईपीभीफोरमा ३.७ अर्ब युनिक आईपी एड्रेस रहेका छन्, जब कि आईपी भी सिक्समा आईपी एड्रेसको सङ्ख्या ३४०० खर्ब रहेको बताइन्छ। एनएटी प्रविधि आवश्यक नपर्ने हुँदा आईपीभी सिक्समा आईपीभी फोरको तुलनामा इन्टरनेट एक्सेस राम्रो हुन्छ। साथै सुरक्षाका दृष्टिकोणले समेत यसलाई बढी प्रभावकारी मानिन्छ।
नारायणगढ-मुग्लिन सडक आजबाट नियमित सबारीसाधान चल्ने चितवन। नारायणगढ-मुग्लिन सडक आइतबारदेखि नियमित सञ्चालनमा आउने भएको छ। नयाँ पुल बनाउन तथा सडक मर्मत गर्नु परेका कारण गत पुस ५ गतेदेखि दैनिक चार घण्टा बाटो अबरुद्ध हुँदै आएको नागरिक मुग्लिङ सडक खण्डमा आजदेखि नियमित सवारी साधान आबातजावत हुने भएको हो। मुग्लिन सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी कृष्ण आचार्यका अनुसार पुल बनाउने र सडक मर्मत कार्य सम्पन्न भएकाले आइतवार देखी नियमिति रुपमा सडक सञ्चालन गरिन लागेको हो। उनका अनुसार पुल बनाउन पाँच ठाउँमा पहाड काट्नु परेको थियो भने अरू ठाउँको पहाड काट्ने काम लगभग सकिएको र तुइन खोलाको एकातर्फ विस्फोट गराउनु पर्ने बाहेक अन्य काम सम्पन्न भएको उनले जानकारी दिए। ‘विस्फोट गराउने बेलामा केही दिनका लागि एकाध घण्टा बाटो बन्द हुन सक्छ तर सवारी आवात जावतमा अब समस्य छैन् निर्बाधा रुपमा चल्न सक्नेछन्’ उनले भने। गत पुस ५ गतेदेखि बिहान ११ बजेदेखि दिउँसो तीन बजेसम्म दैनिक चार घण्टा बाटो बन्द हुँदै आएको थियो।
आजको मौसमः देशका पहाडी भू-भागमा वर्षा हुने, हिमाली भेगमा हिमपातकाे संभावना काठमाडौं। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। साथै देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ। राति भने कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
एक महिनादेखि बेपत्ता बालिका मृत अवस्थामा फेला ताप्लेजुङ। ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ लेलेपमा झण्डै एक महिनादेखि बेपत्ता भएकी छ वर्षीय बालिका मृत अवस्थामा भेटिएकी छिन्। स्थानीय गणेश लिम्बू कि छोरी सोनिया लिम्बू मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। सोनिया गत माघ २५ देखि बेपत्ता थिइन्। घरदेखि करिब आधा घण्टाको पैदल दुरीमा पर्ने आयुजिम्बा खोला किनारमा उनको शव फेला परेको ताप्लेजुङ पहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिए। उनका अनुसार सुगुरलाई चारो खोज्न निस्किएका स्थानीयले बालिकाको शव भेटेपछि प्रहरीलाई खबर भएको थियो। बालिकाको शव पोष्टमार्टमका लागि सदरमुकाम ल्याइएको छ। शव भेटिएको खबरपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोली घटनास्थलमा गएको थियो। घटनास्थल सदरमुकाम फुङलिङदेखि झण्डै एक दिनको पैदल दुरीमा पर्छ। घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको छ
अतिकम विकसित देशलाई ठूलो लगानीको आवश्यकता छः उपप्रधानमन्त्री श्रेष्ठ काठमाडौं। उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले अल्पविकसित देशलाई हरित र लचिलो उद्योग, शिक्षा, स्वास्थ्य, विज्ञान र प्रविधि र कृषिमा ठूलो लगानीको आवश्यकता रहेको बताएका छन्। कतारको दोहामा सुरु भएको अतिकम विकसित मुलुक (एलडिसिज)को पाँचौँ सम्मेलनलाई सम्बोधन गर्दै उहाँले धेरै सङ्कटको सामना गर्दा, अल्पविकसित देशलाई ठूलो लगानीको आवश्यकता रहेको धारणा व्यक्त गरे । अतिकम विकसित मुलुकलाई ऊर्जा, यातायात, र डिजिटल जडानको लागि गुणस्तरीय, दीगो र लचिलो पूर्वाधार चाहिने उल्लेख गर्दै उनले समाजको सबैभन्दा कमजोर समूहको कल्याण र सुरक्षाको लागि र मानव संशाधन क्षमताको विकास र उपयोग गर्न बलियो सामाजिक सुरक्षा र लचिलो स्वास्थ्य प्रणाली चाहिने आवश्यकता औँल्याए। उपप्रधानमन्त्री श्रेष्ठले भने, “हामी किन र कसरी गरिबी र अल्पविकासको निरन्तरताबाट पीडित भइरहने भन्ने हाम्रो सामू ठूलो प्रश्न छ, अतिकम विकसित मुलुकले बलियो औद्योगिक क्षमता, राम्रो उत्पादक र विस्तारित निर्यात आधारको साथ आफ्नो अर्थतन्त्रको संरचना परिवर्तन गर्न आवश्यक छ।” विकास साझेदारलाई सहयोग बढाउनका लागि आह्वान गर्दै उहाँले अर्थतन्त्रले महामारी, द्वन्द्व र जलवायु प्रकोपजस्ता ठूला विश्वव्यापी सङ्कटको आक्रमणको सामना गरिरहेको उल्लेख गरे। उपप्रधानमन्त्री श्रेष्ठले जलवायु सङ्कटको सबैभन्दा बढी शिकार अल्पविकसित राष्ट्र भएको उल्लेख गर्दै न्यायका लागि अनुकूलन, न्यूनीकरण, हानी नोक्सानीका लागि गरिएको जलवायु वित्त प्रतिबद्धता पूर्ण रूपमा परिचालन गरिनुपर्नेमा जोड दिए। अतिकम विकसित मुलुकमा सरल पहुँचको साथ डिजिटललगायत प्रविधि हस्तान्तरणलाई सुनिश्चित गरिनुपर्ने बताउँदै उनले विकासशील विश्वको आवाज र प्रभावकारी सहभागिता सुनिश्चित गर्न विश्व आर्थिक र वित्तीय प्रणालीलाई न्यायपूर्ण र समतामूलक बनाउन साहसी कदम चाल्नुपर्ने बताए। उपप्रधानमन्त्री श्रेष्ठले नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि प्रक्रिया सहज र दीगो बनाउन नेपाल सरकारले आवश्यक काम गरिरहेको बताउँदै सहयोगको अपेक्षा गरे। उपप्रधानमन्त्री श्रेष्ठ नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ, राष्ट्रियसभा सदस्य जितेन्द्रनारायण देव, नेपाल सरकारका सचिव, कतारका लागि नेपाली राजदूतलगायत सहभागी छन्।
माधव नेपालका भाइले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुमान काठमाडौं। नेकपा एसका अध्यक्ष माधव नेपालका भाइ इन्जिनियर सरोजकुमार नेपालले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुमान गरेको छ। काठमाडौंको शंखमुलस्थित रेस्टुरेन्टको छतमा रहेको टेबुलमा चढेर हाम्फालेको देखिएपछि नेपालले आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक निष्कर्ष निकालेको हो। ‘करिब पाँच फिट अग्लो रेलिङ रहेको रेस्टुरेन्टको टेबलमाथि चढेर उनी हाम फालेको देखिएको छ’, प्रहरी स्रोतले भन्यो। तीन दिन देखि सोही बबिन्स कफी नामक रेष्टुरेन्टको छैटौँ तलाको बस्ने गरेका नेपालले शनिबार दिउसो २ बजेतिर छतबाट हाम्फालेका थिए। उनी गत मंगलबारदेखि शंखमूलस्थित बबिन रेष्टुरेन्टमा जाँदै आएका उपाध्याय केही कुरा गर्दैनन् थिए। उनी एक्लै कफी र चुरोट पिउने गरेका थिए। ‘अपरान्ह एक प्लेट मःमः मगाएर खाएपछि वेटरलाई टिप्स दिएर फर्किने उनको दिनचर्या रहेछ, शनिबार भने उनी हाम्फालेको देखियो’, प्रहरी स्रोतले भन्यो। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी दानबहादुर कार्कीले पनि उनी टेबुलमाथि चढेको देखिएको बताए। उनका अनुसार खम्बरमा टाँगिएका तारमा अल्झेर मात्रै उनी भुइँमा बजारिएका थिए । ‘के भएको हो अनुसन्धान भैरहेको छ’, एसएसपी कार्कीले भने।
माइतीघर मण्डलामा मनाइयो फगुवा उत्सव काठमाडौं। विभिन्न मुद्दा र माग लिएर दिनहुँ भिडभाड भइरहने माइतीघर मण्डला परिसरमा आज फरक दृश्य देखियो। उखु किसानदेखि विभिन्न समुदायका पहिचान, लोकतन्त्र, नागरिक खबरदारीका कैयन विषयमा दैनिकजसो सङ्घर्षका कार्यक्रम भइरहने माइतीघरमा ‘फगुवा उत्सव २०२३’ को माहोलले सबैको ध्यान त्यसतर्फ खिचेको देखिन्थ्यो। माइतीघर सडक भइ आवतजावत गर्ने सर्वसाधरणदेखि सवारी साधनमा घुइँकिनेहरुले पनि माइतीघर पुगेपछि क्षणिक रुपमा भए पनि फरक दृश्यको दृश्यावलोकन गर्न भ्याए। दैनिक विभिन्न समूहको आन्दोलन भइरहने माइतीभरमा आजको दृश्यलाई सबैले उत्सुकतापूर्वक लिएका थिए। फागुको रङ्ग र अबिरले माइतीघरको सडक रङ्गिएको थियो। जम्मा भएका व्यक्तिको रङ्गले रङ्गीचङ्गी वेशभूषाले भिडतर्फ आकर्षण पथ्र्यो। त्यो दृश्यले सडकको माहोललाई बेग्लै उल्लासमय बनाएको थियो। माइतीघर मण्डलामा रङ्गिएको रङ्गमा झुम्मिएको जनसाधारणको भिडले कार्यक्रमको महिमा बढाएको थियो। आन्दोलनका क्रममा हुनसक्ने सम्भावित जोखिम नियन्त्रणका लागि हातहतियारसहित सुरक्षा पहरा दिइरहेका उल्लेख्य संस्थाका प्रहरी र सङ्घर्षरत समूहको हूललाई देखिरहनेका लागि बिल्कुल फरक दृश्य भएकाले उनीहरुको ध्यान त्यसतर्फ केन्द्रित हुनु स्वाभाविक पनि थियो। मिथिला संस्कृति समाजले आयोजना गरेको उक्त फगुवा महोत्सवलाई उल्लासमय बनाउन मिथिला समाज र परिवार मात्र होइन आम सर्वसाधरणको साथले कार्यक्रमको रौनक थपेको थियो। त्यसै पनि माइतीघर मण्डलाको रङ्गीचङ्गी दृश्यलाई वसन्तको सङ्घारमा रङ्गीचङ्गी फूल र बोटबिरुवाका साथै मण्डला आसपास बनेका गगनचुम्बी आकर्षक भवनले सहजै ध्यान खिचिरहेको हुन्छ । सधैँ देखिरहनेभन्दा शनिबारको फरक दृश्यले जो कोहीलाई मोहित तुल्याउँथ्यो । होलीको पूर्वसन्ध्यामा होली पर्वको महत्व र महिमाबारे मिथिला संस्कृतिभन्दा फरक समुदायलाई जानकारी गराउने उद्देश्यले फगुवा महोत्सव आयोजना गरिएको मिथिला संस्कृति समाजका अध्यक्ष बीरेन्द्र ठाकुरले बताए। उनले मधेसमा फगुवाका रुपमा चिनिने होली पर्वका अवसरमा काठमाडौँमा बसोबास गर्ने तराईवासीलाई एक ठाउँमा जम्मा पारेर अन्य समुदायलाई पनि देखाउने लक्ष्यका साथ फगुवा उत्सव मनाइएको उल्लेख गरे। होलीको सामाजिक, सांस्कृतिक र धार्मिक महत्व छ । सहरलाई मिथिला संस्कृतिको सन्देश दिन फगुवा पर्व मनाइएको अध्यक्ष ठाकुरले बताउनुभयो । विभिन्न पेसा व्यवसायको सिलसिलामा काठमाडौँमा बसोबास गर्ने तराई–मधेसका विभिन्न समुदायबीच होलीको माध्यमबाट आपसी सद्भाव र भाइचारा अभिवृद्धि गर्न महोत्सव गरिएको हो। मधेसी आयोगका अध्यक्ष डा विजयकुमार दत्तले होलीको माध्यमबाट सामाजिक र सांस्कृतिक अन्तरघुलनको सन्देश दिने उद्देश्यले कार्यक्रम गरिएको बताए। उनले भने, “विभिन्न समुदायबीच सामाजिक अन्तरघुलन गरी एकताको सन्देश दिने उद्देश्यले यो कार्यक्रम गरिएको हो। तराई–मधेशवासीहरु चाहे ती अवध, भोजपुरा र मिथिला हुन् होलीका अवसरमा आ–आफ्नो ठाउँमा जान्छन्। आफ्नो थातथलोमा जानुपूर्व काठमाडौँमा जम्मा पारेर अन्य समुदायलाई पनि सांस्कृतिक एकताको सन्देश दिन यो सान्दर्भिक हुनेछ।” मिथिला समुदायका मानिसले डम्फु, झ्याली, हार्मोनियमलगायतका बाजागाजाका साथ एकापसमा खुसी र शुभकामना साटेर होली उत्सवका रुपमा मनाएका थिए। आयोगका अध्यक्ष डा दत्तले भने, “यो नेपाली संस्कार र संस्कृति हो तर, तराईमा छुट्टै उल्लासका साथ छुट्टै किसिमले होली मनाउने परम्परा छ, त्यसको सन्देश अन्य समुदायलाई दिन र तराई, पहाड, हिमाल सबै एकै कोही छैन पराइ भनेर सन्देश दिनका निम्ति पनि यो कार्यक्रम गरिएको छ।” सांस्कृतिक अभियन्ता राजानन्द माण्डव्यले मिथिला संस्कृतिको पुरानो इतिहास होली पर्वलाई उल्लासमय बनाउन यो अभियानले सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले भने, “मधेसका विभिन्न खाले संस्कृतिलाई पहाड र हिमालमा नपुर्‍याएसम्म एकताको भावना विकास हँुदैन। हिमाल, पहाड र तराई कोही छैन पराइ भन्ने एकताको सन्देश दिन यो अभियानले सहयोग पुग्नेछ।” समाजले अघिल्लो वर्ष पनि माइतीघर मण्डलामा फगुवा कार्यक्रम आयोजना गरेको थियोे। समाजले संस्कृतिको जगेर्ना, मिथिला र मधेसको संस्कृति उत्थान विकासमा विभिन्न भूमिका निर्वाह गर्दै आएको छ। यो उत्सवमा कुनै पनि किसिमको मदिराजन्य पदार्थको प्रयोग हुन दिइँदैन। मालपुवा, बदाम, नरिवल, सुपाडी, छोकडा, किसमिसको मिष्ठान्न परिकारसहित अबिर दलेर यो पर्व मनाइएको हो। कुनै स्थान विशेषमा गर्दा सीमित मानिसले मात्रै फगुवाको महत्वबारे बुझ्ने भएकाले सडकमा गर्दा आम मानिसले जानकारी लिनसक्ने भएकाले साङ्केतिक रुपमा उत्सव आयोजना गरिएको अध्यक्ष ठाकुरले बताए। “जबसम्म हाम्रा सांस्कृतिक पर्वहरु, आयामहरु बलियो हुँदैनन् तबसम्म हाम्रो सांस्कृतिक एकता बलियो हुँदैन त्यसैले सामाजिक एकता, सांस्कृतिक सद्भाव र भाइचारा कायम गर्न हामी माइतीघरमा जम्मा भएका छौँ”, डा दत्तले भने। ‘काठमाडौँ सहर, माइतीघरमा होली खेलिङ्गे’ जस्ता होली गीत गाएर धुमधामका साथ होली मनाइएको थियो। सांस्कृतिक एकताका रुपमा चिनिने हिन्दूहरुको महान् सांस्कृतिक पर्व होलीको पावन अवसरमा मधेसका वरिष्ठ समाजसेवी तथा राजनीतिककर्मीहरुको उपस्थितिमा फगुवा प्रदर्शनी आयोजना गरिएको हो। मधेसमा पौराणिक कालदेखि नै विशेष उत्सवका रुपमा मनाउँदै आइरहेको र यस संस्थाको स्थापनाकालदेखि नै संस्कृतिको संरक्षण एवं प्रवद्र्धन गर्नु रहेको अध्यक्ष ठाकुरले उल्लेख गरे।
आहारा नपाउँदा रूखका बोक्रा खाँदै छाडा चौपाया कैलाली । सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरमा छाडा चौपाया व्यवस्थापन चुनौतिपूर्ण बन्दै गएको छ । आहारा अभाव हुँदा छाडा चौपाया रुखका बोक्रा खाएर बाँचेका छन् । छाडा छोडिएका चौपाया व्यवस्थापनका लागि दुवै जिल्लाका स्थानीय तहले लाखौँ रुपैयाँ खर्च गरेका छन् । खर्च गर्ने क्रम बर्सेनी बढ्दै गएको छ । तर छाडा चौपायको समस्या भने उस्तै छ । कतिपय स्थानीय तहले छाडा चौपाया व्यवस्थापनका लागि गरेको लगानी हिनामिना भएको पाइएको छ । यसरी हिनामिना गर्ने व्यक्ति तथा सम्बन्धित निकायलाई कारवाही हुन सकेको छैन । छाडा चौपायाबाट सबैभन्दा बढी चिन्तित किसान स्वयम छन् । उनीहरुले लगाएको अन्न बाली छाडा चौपायाले सखाप पार्ने गरेका छन् । स्थानीय तह निर्वाचनमा छाडा चौपाया व्यवस्थापन मुख्य मुद्दाका रुपमा मतदाताले उठाएका थिए । व्यवस्थापन गरिएको भनिएका चौपायाको अवस्था पनि दयनीय छ । कैलालीको टीकापुर नगरपालिका–५ स्थित खोटेना भुराखानी सामुदायिक वनमा गौशाला निर्माण गरिएको छ । यहाँ करिब चार सय चौपाया राखिएका छन् । तर चौपायालाई आहाराको समस्या छ । उनीहरु भोकले रूखका बोक्रा खान थालेका स्थानीयले बताएका छन् । छाडा चौपाया व्यवस्थापन गरिएको क्षेत्रमा अधिकांश रुखका बोक्रा छैनन । “चौपायाको मुख पुग्नेसम्मका रूखका बोक्रा छैनन्”, स्थानीय एकराज पण्डित भन्छन्, “व्यवस्थापनमा खासै ध्यान दिएको पाइँदैन ।” स्थानीय तहले छाडा चौपाया व्यवस्थापन गर्न गौशाला निर्माण गरेका छन् । तर उनीहरुका लागि आवश्यक आहाराको व्यवस्था गरेको नपाइएको उनको आरोप छ । स्थानीय नरबहादुर रावल छाडा चौपाया राख्नका लागि गौशाला निर्माण मात्र ठूलो कुरा नभएको उल्लेख गर्दै तिनको खानेकुरामा ध्यान दिन आवश्यक हुने बताउँछन् । यसलाई रोजगारीसित जोड्न आवश्यक भएको उनको भनाइ छ । टीकापुर–२ का वडाध्यक्ष दीपक चौधरी वडाको सबैभन्दा ठूलो समस्या छाडा चौपाया व्यवस्थापन भएको बताउँछन् । “वडाको स्रोतसाधनले भ्याएसम्म व्यवस्थापनमा लागेका छौँ”, उनले भने, “एउटा जनप्रतिनिधिले चाहेर मात्रै चौपाया व्यवस्थापन गर्न कठिन छ । हाम्रो स्रोतसाधनले भ्याउने स्थिति छैन ।” टीकापुर नगरपालिकाले वार्षिक रु २० लाख छाडा चौपाया व्यवस्थापनका लागि विनियोजन गर्दै आएको छ । उक्त रकम चौपायाको आहारा, यसका लागि खटिने कामदारको ज्यालालगायत कुरामा खर्च गरिँदै आएको छ । बजेटको अभावले छाडा चौपाया व्यवस्थापनमा समस्या भएको नगरपालिकाका नगरप्रमुख रामलाल डंगौरा थारू बताउँछन् । नगरपालिकाले गरेको काम पनि दीर्घकालीन हुन नसकेको भन्दै उहाँले छाडा चौपायाको दिगो व्यवस्थापन नै जरुरी भएकामा जोड दिए । “दीर्घकालीन योजनाका साथ उत्पादनमूलक बनाउने गरी गौशालाको व्यवस्थापन गर्नुपर्छ । यसमा नगरपालिका मात्रै नभई अन्य निजी संस्थाले पनि समन्वय र सहकार्य गर्नुपर्ने देखिन्छ”, नगरप्रमुख थारू भन्छन्, “हामीले नाफा घाटा नहेरी आवश्यकताका आधारमा काम गर्दै आएका छौँ । उत्पादनमूलक रुपमा काम गर्ने कुनै निकाय आए त्यसलाई जिम्मेवारी सुम्पिन सकिन्छ ।” सुदूरपश्चिम प्रदेशका प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरी कैलालीमा छाडा चौपाया व्यवस्थापन जटिल समस्याका रुपमा रहेको बताउँछन् । छाडा चौपायाका कारण किसानले खेती गर्न छाडेको उनको भनाइ छ । “छाडा चौपायालाई व्यवस्थापन गर्न बनाइएका गौशालाको अवस्था चित्तबुझ्दो छैन । उनीहरुलाई खानेकुराको अभाव भएको छ, कतिपय ठाउँमा पानीको पनि व्यवस्था नगरेको पाइयो”, प्रदेशसभा सदस्य चौधरीले भने, “भोकले चौपाया मरेको समेत पाइएको छ, यसतर्फ सम्बन्धित निकायले ध्यान दिनुपर्छ ।” कैलालीको जस्तै कञ्चनपुरका विभिन्न स्थानीय तहले छाडा चौपायाका लागि निर्माण गरेका गौशालाको अवस्था पनि दयनीय नै छ । यसको व्यवस्थापनमा स्थानीय तहको ध्यान पुग्न सकेको पाइँदैन । छाडा चौपायाका कारण सधैँ स्थानीय तह र सर्वसाधारणबीच किचलो हुने गरेको छ । व्यवस्थापनको माग राख्दै पटक पटक आन्दोलन समेत गरिँदै आएको छ । छाडा चौपायाको व्यवस्थापनतर्फ जनप्रतिनिधि र कर्मचारी गम्भिर बन्न सकेका छैनन् । छाडा चौपायाका कारण दैनिक सडक दुर्घटना समेत बढेको पाइएको छ ।
कैलालीमा स्कुल बसले ठक्कर दिँदा बृद्धाको मृत्यु कैलाली । कैलालीमा ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । गोदावरी नगरपालिका–६ खैरानामा माउन्ट सैपाल स्कुलको से १ क ४४१ नम्बरको बसको ठक्कर दिदाँ  ६५ वर्षीय बाटुबट्टे आलेमगरको मृत्यु भएको हो । शैक्षिक भ्रमणका लागि हिडेको बसले पूर्वपश्चिम राजमार्गमा पैदलयात्री आलेमगरलाइ ठक्कर दिएको थियो । जिल्ला प्रहरी कार्यालयका अनुसार बसको ठक्करबाट घाइते वृद्धको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस र चालक खुशीराम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
ग्रास रुट अभियानमा सहभागी हुन जाँदै गर्दा एमाले नेताकाे दुर्घटनामा परी मृत्यु प्युठान । नेकपा एमालद्धारा सञ्चालिनत ग्रास रुट अभियानमा भाग लिन जाँदै गर्दा प्युठानमा एकजनाको दुर्घटनाबाट मृत्यु भएको छ । माण्डवि गाउँपालिका – ५ आपचौरमा जेसिबि र मोटरसाइकल ठोक्किएर दुर्घटना हुदाँ गोपाल थापाको मृत्यु भएको हो । प्रहरीका अनुसार बाटोमा काम गरिरहेको जेसीबीमा मोटरसाइकल ठोक्किदा ऐरावती –२ टिकुरी बस्ने गोपाल भनिने रामबहादुर थापाको मृत्यु भएको हो भने सो मोटरसाइकलमा सबार कमला भुसाल भने घाइते भएकी छिन । घाइते भुसालको विजुवारस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ । एमाले प्युठानका जिल्ला कमिटी सदस्य रहेका थापा र भुसाल ‘मिसन ग्रास रुट’ कार्यक्रमका लागि  रानिबगरमा आयोजना भएको वडास्तरिय कार्यक्रममा सहभागी हुन जाँदै थिए । उक्त घटना पछि एमालेले कार्यक्रम स्थगित गरेको छ ।
कञ्चनपुरमा दुर्लभ प्रजातिको सर्प भेटियो कञ्चनपुर । बेलौरी नगपालिका–७ मा दुर्लभ प्रजातिको सेतो सर्प फेला परेको छ । सबडिभिजन वन कार्यालय कुण्डाका प्रमुख दिनेश यादवका अनुसार ‘ननभेनोमोअस वल्फ’ नामक सर्प फेला परेको हो । दुर्लभ प्रजातिको करेत जस्तै देखिने सर्प पहिलो पटक देखिएको यादवले बताए । “मैले वन क्षेत्रमा काम गरेको २५ वर्ष भएको छ”, उनले भने, “यस प्रजातिको सर्प पहिलो पटक देखेको हुँ ।” यस प्रजातिको सर्प विरलै देखिने गरेको उनको भनाइ छ । सेतो रङ्गको ‘ननभेनोमोअस वल्फ’ प्रजातिको सर्पको लम्बाइ तीन फिटभन्दा बढी रहेको छ । सर्प विषालु प्रजातिको भने होइन । फेला परेको सर्पले मुसा, कीरा फट्याङग्रा, भ्यागुता लगायतलाई आहारका रुपमा खाने गरेको छ । स्थानीयवासीको घर नजिकै फेला परेको सर्पको उद्धार गरी सिमताल सामुदायिक वन क्षेत्रमा सकुशल रुपमा छाडिएको सबडिभिजन वन कार्यालयका प्रमुख यादवले जानकारी दिए । सर्प विज्ञहरुका अनुसार यस्तो प्रजातिको सर्प रातिका बेला आहारका लागि बढी सक्रिय हुने गरेको छ । यस्तो सर्प दिउँसो रूखको टोड्का र दुलोमा बस्ने गर्दछ । यस प्रजातिका सर्प नेपालसहित भारत, बङ्गलादेश, चीन, इन्डोनेसिया, मलेसियालगायत दशभन्दा बढी देशमा पाइने गरेका छन् ।
अस्मिताको संघर्षः जीवन धान्न बालुवा बोक्नेदेखि ‘कटन क्यान्डी’ मेसिन चलाउनेसम्म बागलुङ । सैतीस वर्षीया अस्मिता आजभोलि हरेक बिहान बागलुङ कालिका मन्दिरको प्रवेशद्धार अगाडि ‘कटन क्यान्डी’ बेच्दै गरेको भेटिन्छिन् । अस्मिताको जीवनमा उमेरको मात्र सङ्ख्या बढेको छैन, सहज जीवनयापनका लागि गरेका संघर्षको चाङ पनि थपिँदो छ । विसं २०४२ मा म्याग्दीको राखु भगवतीमा जन्मिएकी अस्मिताको म्याग्दीकै मङ्गला गाउँपालिका–३ बराङ्जाका गणेश विकसँग विवाह भयो । विवाहलगत्तै विसं २०६३ मा सुनौलो भविष्यको सपना देखेर गरेर खानका लागि बागलुङ बजार छिरेका विक दम्पतीको संघर्षका दिन सुरु भए । सुरुआती दिनमा अस्मिताले बागलुङ बजारको हल्लनचोकमा तरकारी बेच्थिन्। उनका जेठा छोरा यतिबेला रुद्रेपिपल माध्यमिक विद्यालयमा कक्षा १० र कान्छा छोरा कक्षा ५ मा पढ्छन् । विद्यालय जान नपाएकी अस्मितालाई छोराहरूले धेरै पढुन् भन्ने चाहना छ । छोरालाई पढाउनकै लागि उनले कालिका मन्दिर प्रवेशद्धारमा फूल–प्रसाद पनि बेचिन् । सोचेजस्तो आम्दानी नभएपछि अस्मिताले कालीगण्डकी नदीबाट बालुवा निकाल्ने काम गरिन् । अस्मिताका श्रीमान् गणेश वैदेशिक रोजगारीका लागि साउदीसमेत पुगे। विदेशमै बिरामी परेर दुःख पाएपछि छ वर्ष अघि गणेश स्वदेश फर्किए । धन कमाउन विदेशिएको श्रीमान् बिरामी परेर फर्किएपछि छोरालाई पढाउन र दुई छाक खुवाउन समस्या हुने देखेर अस्मिताले रु ५० हजार ऋण लिएर कटन क्यान्डी बनाउने मेसिन किनेकी हुन् । छ वर्षयता सोही मेसिन अस्मिताको सुख, दुःखको साथी बनेको छ । बिरामी निको भएपछि घर निर्माणको काम सुरु गर्नुभएका गणेशले डेढ वर्षदेखि आफ्नै अटोरिक्सा चलाउन सुरु गरे । छोराहरूको भविष्य उज्ज्वल बनाउने अठोटसहित अगाडि बढेका विक दम्पतीले एक जनाको कमाईले घर खर्च चलाउने र अर्काको कमाइले अटोको किस्ता तिर्ने गर्छन् । केही रकम सहकारीमा बचत गर्ने गगरेका छन्। “कुनै कुनै दिन एउटा क्यान्डी बिक्री हुँदैन, कहिलेकाहीँ चार–पाँच हजार पनि हुन्छ, कमाएर सम्पत्ति जोड्ने रहर छैन, छोराले दुःख नपाउन्, धेरै पढुन् भन्ने चाहना छ”, अस्मिता भन्छिन्। अप्ठ्यारोमा पनि आँट, साहस र परिवारको मायाले हरेक चुनौतीसँग लड्न सहज भएको उनको भनाइ छ । सुरुका दिनमा निकै दुःख पाएको सुनाउने अस्मिताले अहिले दैनिकीमा थोरै परिवर्तन आएको बताइन् । संघर्षलाई निरन्तरता दिए सफलता मिल्ने उनी बताउछिन् । “खुसी जीवन जिउन श्रीमान्–श्रीमती एकअर्काको मुख ताकेर हुँदैन, परिवारमा सकेको काम सबैले गर्नुपर्छ, हामीजस्तो सामान्य परिवारका मान्छेले अवसर पाउन गाह्रो नै हुन्छ र पनि अवसर आफैँ खोजेर लागे सफलता मिल्छजस्तो लाग्छ, हामीलाई दुःखले सङ्घर्ष सिकायो ।”
व्यवसाय प्रवर्द्धनबाट आर्थिक प्रगति गर्दै तुलबहादुर काठमाडौँ। प्राकृतिक सौन्दर्यले सजिएको स्थानमा खहरेबाट बग्दै गरेको मनमोहक झरना। डाँडाको बीचबाट कलकलाउँदै झरेको पानी सङ्कलित पोखरी। पोखरीमा पौडिएका माछाहरू हेर्दा जो-कोहीलाई पनि आकर्षित पार्ने दृश्य हो सिन्धुपाल्चोकस्थित हाबुङ्ग-२ मा स्थापना गरिएको ट्राउट भिलेज रिसोर्ट एण्ड फार्म। दुई दशक अगाडि रु ४० लाखमा सो फार्ममा व्यावसायिक माछापालन थालेका तुलकुमार राईले अहिले व्यवसाय बढाउँदै लगानी पनि करिब रु २० करोड पुर्‍याएका छन्। सात रोपनी क्षेत्रफलमा फैलिएको उक्त फार्मले ह्याचरीसमेत सञ्चालन गरी वार्षिक नौ लाख भुरा तथा १७ हजार किलो माछा उत्पादन गर्ने क्षमता विस्तार गरेको छ। फार्ममा माछापालनलाई कृत्रिम तथा प्राकृतिक १६ जलाशय र ह्याचरीलाई साना १४ पोखरी छन्। प्रोटिन बढी हुने यस किसिमका माछालाई आवश्यक पर्ने चारा तथा दाना बनाउने व्यवस्था फार्ममा गरिन्छ। माछाका लागि पिना, सिद्रा, भटमासको धुलो, धानको ढुटोलगायत चाहिन्छ। देशका विभिन्न स्थानका माछापालक कृषकबाट भुराको माग हुने गरेको छ। माछा हेर्दा साधारणजस्तो देखिए पनि यसले मानव स्वास्थ्यमा बहुआयामिक फाइदा गर्ने नरम र काँडा कम हुने विशेषता भएकाले पनि तुलनात्मकरूपमा अन्य माछाभन्दा केही महँगो पर्छ। सेतो मासु भएकाले उच्च रक्तचाप, मधुमेह, मुटुरोगीलगायतका जुनसुकै बिरामीले पनि खान मिल्ने भएकाले पनि यसको माग बढेको छ। माछामा मानिसको दिमागलाई आवश्यक ‘ओमेगा थ्री’ भन्ने तत्व धेरै पाइन्छ। खोटाङका स्थायी बासिन्दा रहेका फार्मका सञ्चालक राई यो व्यवसायमा आउनुभन्दा अगाडि सामान्य ठेक्कापट्टामा आबद्ध थिए। माछापालन क्षेत्रमा कुनै अनुभव थिएन। साथीहरूसँग घुम्दै जाँदा सो ठाउँमा पुग्दा प्राकृतिक सुन्दरताले आकर्षित गरेपछि जग्गा किनेर व्यवसाय थालेको उनको भनाइ छ। “चौबीसै घण्टा बगिरहने सफा पानी र तापक्रम व्यवस्थापनमा धेरै विधि र प्रक्रिया पुर्‍याउनुपर्ने हुन्छ। धेरै उत्पादन गर्दा मुनाफा राम्रै छ।” उपयुक्त तापक्रम तथा गुणस्तरयुक्त दानाको व्यवस्था भएमा ट्राउट माछा उत्पादन गर्न सकिन्छ। माछालाई रोग लाग्नबाट बचाउन पोखरी सधैँ सफा राख्नुपर्दछ, ठीक समय र ठीक मात्रामा दाना दिनुपर्दछ। काठमाडौँबाट साँखु हुँदै जान सकिने उक्त स्थान करिब ३० किलोमिटरको दूरीमा रहेकाले पनि काठमाडौँ उपत्यकाबाट घुम्न आउने, शैक्षिक भ्रमण, सेमिनार, गोष्ठी हुने भएकाले पनि त्यस क्षेत्रमा चाप बढेको छ। कतिपय माछा खान, अवलोकन, सोधपुछ गर्न र व्यवसायीका लागि फार्म राम्रो गन्तव्यस्थल बनेको छ। गुणस्तरीय दाना एक किलो खुवाएर एक किलो माछा उत्पादन गर्न सकिन्छ। लामो समयसम्म माछा पाल्दा दानाको खपत बढ्ने र वृद्धिको अनुपात कम हुँदै जाने हुनाले करिब तीन सय ग्रामको तौल भएपछि बिक्री गर्दा नाफा धेरै हुन्छ। खासगरी हिमाली तथा पहाडी भेगमा मूलबाट बहाव हुने चिसो पानी तथा झरनाको स्रोत भएकाले माछाको व्यावसायिक पालन गर्न उपयुक्त मानिन्छ। त्यस क्षेत्रमा खाद्यान्न बाली लगाउन कठिन रहेको अवस्थामा जनताको जीविकोपार्जनका लागि यो क्षेत्र राम्रो आयस्रोतको माध्यम बन्ने सम्भावना देखिएको छ। माछा उत्पादनको लागत धेरै हुँदा स्वभाविकरूपमा लगानी पनि धेरै गर्नुपर्ने भएकाले कृषकलाई आवश्यक लगानी गर्न सरकारी तथा वित्तीय संस्थाबाट विशेष सहुलियत ब्याजदरमा ऋण उपलब्ध हुन आवश्यक छ। बढी घनत्वमा बगिरहेको पानीमा पालिने मांसाहारी जातको यो माछा अमेरिकाबाट जापानमा आयात गरी पालिएपछि विस्तारै एसियाका अन्य देशमा विस्तार भएको पाइन्छ। स्वच्छ, सफा र स्वादिष्ट हुने माछा सन् १९६८ मा नेपालमा भुराहरू उत्पादन सुरु गरिएको थियो। सन् १९८८ मा सरकार र जाइका नेपालको संयुक्त पहलमा जापानको मियाजाकी प्रान्तबाट ५० हजार भ्रुण फूल आयात गरी गोदावरीमा हुर्काइएको थियो। हयाचरिङलाई गोदावरी र त्रिशूली मत्स्य अनुसन्धान केन्द्रमा गरिएको परीक्षण कार्यक्रमबाट सोही प्रजातिका माछा विकास गरी पालन कार्यक्रमलाई निरन्तरता दिइएको पशु सेवा विभागका प्रवक्ता डा चन्द्र ढकालले जानकारी दिए। तत्कालीन समयमा नै माछाको विकासका लागि आवश्यक प्रविधि विकसित गरिएको थियो। यसको व्यावसायिक उत्पादन गर्न सकिने भएकाले सोहीअनुसारका पूर्वाधार आवश्यक हुन्छ। यसको अतिरिक्त शुद्ध नश्लको भुरा र प्राविधिक ज्ञान एवं व्यवस्थापकीय कौशलता भएमा उत्पादनमा सहयोग पुग्दछ। ट्राउट माछापालनबाट सफलता पाउनका लागि प्रमुख पूर्वाधार उपयुक्त स्थल छनोट गर्नुपर्ने हुन्छ । स्थल छनोट गर्दा चिसो, सफा र स्वच्छ पानीको स्रोत भएको केही भिरालो जमिन आवश्यक हुन्छ। सडक, विद्युत्, बजार, उत्पादन सामग्रीको उपलब्धता र उत्पादित माछा आवश्यकतानुसार जिउँदै पनि ओसारपसार गर्नुपर्ने भएकाले फार्म रहेको स्थानमा यातायातको पूर्वाधार आवश्यक हुन्छ। माछालाई चाहिने आहारा केही दिनसम्म सुरक्षित राख्न फ्रिज र मिक्सचर प्रयोगका लागि विद्युत्को उपलब्धता अनिवार्य छ। फार्ममा दानाको नियमित आपूर्ति र उत्पादित माछालाई बजारको पहुँच हुनु आवश्यक छ। एक मेट्रिक टन माछा उत्पादनका लागि करिब एक सय वर्गमिटर ‘रेसवे’ पोखरीमा न्यूनतम पाँच सय घनमिटर प्रतिदिनका दरले पानीको बहाव निरन्तररूपमा आवश्यक पर्दछ। फार्म निर्माणका लागि छानिएको स्थानमा वर्षैभरि पर्याप्त मात्रामा बगिरहेका पानी हुनु जरुरी रहेको शङ्करापुर-२ स्थित हेभन हिल होटल रिसोर्टका सञ्चालक राकेश तिमिल्सिनाले बताए। उपलब्ध पानीको गुणस्तरअनुसार भुरा उत्पादन गर्ने ह्याचरीका लागि संरचना निर्माण तथा खाने माछा मात्र उत्पादनका लागि सुविधा तयार गर्नुपर्छ। ट्राउट माछा बाँच्न, हर्कुन र परिपक्व हुन सफा, चिसो र प्राणवायु (अक्सिजन) पर्याप्त भएको पानी उपयुक्त मानिन्छ। तापक्रम घटबढ भएमा पनि माछा ढिलो बढ्छ र व्यावसायिकरूपमा पालन गर्न फाइदाजनक हुँदैन। रासस
आजको मौसमः कोशी र गण्डकीका पहाडी भू-भागमा वर्षाकाे संभावना काठमाडौं। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। साथै देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ। राति भने कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहनुका साथै देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
बैंक तथा वित्तीय संस्थाविरुद्धका गतिविधि रोक्न गृह मन्त्रालयको निर्देशन काठमाडौं। गृहमन्त्रालयले बैंक तथा वित्तीय संस्थाविरुद्ध हुने गैरकानूनी गतिविधि रोक्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ। गृहसचिव विनोदप्रकाश सिंहले कतिपय ठाउँमा वित्तीय संस्थाका प्रतिनिधिलाई कालोमोसोसमेत दलेका घटना सार्वजनिक भएकाले यस्ता अवैध गतिविधि रोक्न निर्देशन दिइएको जानकारी दिए। “त्यस्ता गतिविधि हुन नदिन र आवश्यक निगरानी बढाउन निर्देश गरिएको छ”, गृहसचिव सिंहले भने, “गृह प्रशासनको काम शान्ति सुरक्षा कायम गर्नु हो र निर्वाधरूपमा सेवा गर्ने वातावरण दिनु हो, सोहीअनुसारको निर्देशन गएको छ।” पछिल्लो समयमा बैंक तथा वित्तीय संस्था र लघुवित्त विरुद्ध आन्दोलन जारी छ भने केहीअघि जाजरकोटमा लघुवित्तका कर्मचारीमाथि कालोमोसो दलिएको घटना सार्वजनिक भएको थियो।.
बर्दिबासमा दिनदहाडै चोरी हुन थालेपछी व्यवसायीहरु असुरक्षित महोत्तरी । महोत्तरीको बर्दिबास सहरमा दिनदहाडै चोरी हुन थालेपछी व्यापारीहरुले असुरक्षित महसुस गर्न थालेका छन् । मंगलबार प्रदिप सेन्चुरीको सुनचाँदी पसलबाट सुन  चोरी गर्ने ब्यक्तीलाइ प्रहरीले समेत पक्राउ गर्न नसक्नुले असुरक्षित महसुस भएको व्यापारीले बताए । यसैबीच आज सुनचाँदी व्यवसायीहरुले इलाका प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन । ज्ञापनपत्रमा ब्यवसायीले जिल्ला सुरक्षा कार्यालयको भुमिकामाथी नै प्रश्न उठाएका छन् । सुन जोखाउनु छ भन्दै सुनको डब्बा नै लुटेर मोटरसाइकलमा फरार हुने व्यक्तिको हुलिया सहित प्रहरी र स्थानीय सरकारलाई ध्यानाकर्षण गराउँदा पनि यस्को सुनुवाई हुन नसकेको व्यवसायीहरुको गुनासो छ । व्यवसाय संचालनको क्रममा लुटपाट हुनु आफैमा निन्दनीय भएको बताउँदै नेपाल सुनचाँदी व्यवसायी संघ महोत्तरीका महासचिव बिनोद भण्डारीले जिल्लाको कमजोर सुरक्षा अवस्थाको चित्रण भएको बताए । दोषीलाई तत्काल पक्राउ गरि कानुनी दायरमा ल्याउन पनि व्यवसायीहरुले सम्बद्ध निकायसगँ माग गरेका छन् । पछिल्लो समय बर्दिबासमा साना तथा ठुला व्यवसायीहरुका सटर फुटाएर चोरी भएका घटनाहरु बाक्लिदै गएका छन् । कहिलेकाही त एकै रातमा ३ वटासम्म पसल चोरी हुने गरेको व्यवसायीहरुको गुनासो छ । यता  उद्योग वाणिज्य संघ बर्दिबासले चोरीका घटनाहरुको विषयलाई गम्भीरतापूर्वक लिएको बताएको छ । वाणिज्य संघका माहासचिव उत्तम श्रेष्ठले चोरीलाइ कसरी न्यूनीकरण गर्ने भन्ने विषयमा विभिन्न चरणमा छलफल समेत भैइसकेको बताए । सिसिटिभी जडान देखि बर्दिबास सहरलाइ सुरक्षित बनाउन सुरक्षा निकाय र स्थानीय सरकारसँग गहन छलफल भैइरहेको अध्यक्ष बिष्णु खडकाको भनाइ छ ।
ग्रिनसिटी हस्पिटलमा ३० किलोको ट्युमरको शल्यक्रिया, उपचार निशुल्क काठमाडौं। बसुुन्धरास्थित ग्रीनसिटी हस्पिटलमा एक महिलाको पेटमा रहेको ३० किलोभन्दा बढीको ट्युमरको शल्यक्रिया गरिएको छ। ४९ बर्षकी रिता शेर्पाको पेटमा रहेको ३० किलो बढी ट्युमरको शल्यक्रिया गरिएको हो। आर्थिक अवस्था कमजोर रहेपछि बेलैमा उपचार गर्न नसक्दा रिताको ट्युमर बढ्दै गएको थियो। पेटमा ३० किलोको ट्युमरको भारीले हिड्न नमिल्ने, खाना खान असहज हुनेलगायत रिताको अन्य दैनिकीमा पनि निकै समस्या देखिएको थियो। केही समययता पेट अस्वाभाविक रूपमा बढेपछि उनलाई हिँडडुल गर्न गार्हो भएको थियो। आर्थिक अवस्था कमजोर रहेकाले उपचार गर्न नसकेको रिताको अवस्थाबारे सामाजिक सञ्जालमा चर्चा भएपछि ग्रिनसिटी अस्पतालले निशुल्क उपचार गरिदिएको थियो। डाक्टर रुपा झाको टोलीले माघ ६ गते रिताको पेटमा बढ्दै गएको ट्युमरको शल्यक्रिया गरेको थियो। डा. झाका अनुसार यस्तो किसिमको शल्यक्रिया पश्चात संक्रमण भई शरीरका अन्य अंगहरुले काम गर्न नसक्ने तथा शरीरमा प्रोटिनको मात्रा कम हुने जोखिम उच्च रहन्थ्यो। तर रिता शल्यक्रिया गरेको दोस्रो दिनदेखिनै सामान्य अवस्थामा फर्किएको डा. झाले बताए। रिताको उपचारमा ५ लाख बढी खर्च भएको हस्पिटलले जनाएको छ। शल्यक्रिया पश्चात आफ्नो दैनिकी सामान्यकरणतर्फ उन्मूख भएको र पहिलाको जस्तै जिवनयापन गर्न सकेको भन्दै रिताले अस्पतालप्रति कृतज्ञता व्यक्त गरेका छन्। फाइनान्स डाइरेक्टर रेणुका गुरुङले अस्पतालले सामाजिक काम गर्दै आएको र आर्थिक अवस्था कमजोर रहेका नागरिकको निशुल्क तथा सहुलियतमा उपचार गरिरहेको जानकारी दिइन्। अस्पतालले गर्दै आएको निशुल्क उपचारबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले विपन्न तथा आर्थिक अवस्था कमजोर भएका नागरिकलाई यो वर्ष झण्डै ४० लाख रुपैंया बराबरको उपचार निशुल्क गरिएको बताइन्। उनले यस वर्ष सहुलियत उपचारमा अस्पतालले २ करोड रुपैंया खर्च ब्यहोरेको बताइन्। यसैगरी भारतमा ८ पटकसम्म शल्यक्रिया गर्दापनि रोग निको नभएको तथा उपचारमै भएको जायजेथा सकेपछि चिन्तित रहेका डडेल्धुराका २९ वर्षका किशन बहादुर तमोटाको पनि निशुल्क उपचार गरिएको छ। उनको ५ महिना अगाडि शल्यक्रिया गरिएको थियो। उनको खाना नलीको समस्या देखिएको थियो। अस्पतालका अध्यक्ष लोकबहादुर टण्डलने सामाजिक उत्तरदायीत्व वहन गर्ने उद्धेश्यले नै ग्रिनसिटी अस्पतालको स्थापना भएकाले आर्थिक अवस्था कमजोर भएका नागरिकको उपचार निशुल्क गर्न अस्पताल प्रतिवद्ध रहेको वचन दिए। उनले महिना २ जना विपन्न नागरिकको शल्यक्रिया निशुल्क गर्ने योजनामा अस्पताल रहेको बताए। अन्य अस्पतालहरुले पनि विपन्न नागरिकको औषधि उपचार निशुल्क गर्नपर्नेमा जोड दिए। २०६९ सालामा ग्रिनसिटी अस्पतालको स्थापना भएको थियो।
छोरीबाट पीडित ८१ वर्षीय सर्वजीत सिंहले गुहारे मानवअधिकार आयोग काठमाडौं । काठमाडौं महानगरपालिका ४ धुम्बाराही बस्ने ८१ वर्षीय सर्वजीत सिंह तामाङले आफ्नै कान्छी छोरीबाट आफू अन्यायमा परेको भन्दै राष्ट्रिय मानवअधिकार आयोग गुहारेका छन् । आफ्नो आर्जनले किनेर छोरीका नाममा राखेको घरजग्गा आफूलाई थाहै नदिई बेचिदिएर आफू घर न घाटको बनेको भन्दै उनले न्यायको माग गर्दै आयोगमा निवेदन दिएका हुन् । शुक्रबार पुल्चोकस्थित आयोगको केन्द्रीय कार्यालयमा निवेदन दर्ता गरेका सर्वजीतले आफ्नी तीन छोरीमध्ये कान्छी छोरी कुसुम लामा तामाङबाट आफूलाई अन्याय परेको बताएका छन् । आफू बसिरहेको घरमा अनधिकृत मानिसहरू प्रवेश गरी होहल्ला गर्ने र आफूलाई मानसिक यातना पुर्यारउने काम भइरहेको आयोगलाई जानकारी गराउँदै उनले आफू एक्लो र अलपत्र परेको निवेदनमा खुलाएका छन् । उनको निवेदनको पूर्णपाठ : श्रीमान् अध्यक्षज्यू, राष्ट्रिय मानवअधिकार आयोग हरिहर भवन, पुल्चोक ललितपुर विषय : न्यायका लागि याचना गरिएको बारे । महोदय, म निवेदक सर्वजीत सिंह तामाङ ८१ वर्षीय ज्येष्ठ नागरिक हुँ । म अन्यायमा परेकोले तपसिल बमोजिमको ब्यहोरा खुलाउँदै न्यायका लागि यो पत्र लेख्दै गुहार मागेको छु। १. मेरा दुई श्रीमतिमध्ये जेठी श्रीमतिबाट एक र कान्छीबाट दुई छोरी गरेर तीन जना छोरी छन् । जेठीश्रीमतिको एक वर्षअघि निधन भएको हो । कान्छी श्रीमतिले पहिले नै मेरो साथ छोडेर अर्कैसँग जीवनयापन गरेकी थिइन् । छोरीहरू आआफ्नो बाटो लागि सकेको कारण म ज्येष्ठ नागरिक अहिले एकल रूपमा काठमाडौं महानगरपालिका वडा नम्बर ४धुम्वाराहीमा बस्दै आएको छु । मेरा तीन छोरीमध्ये जेठीतर्फकी उर्मिला तामाङ (सबैभन्दा जेठी) हुन् । कान्छीबाट उर्गेन तामाङ र कुसुम तामाङ (कान्छी) को जन्म भएको थियो । कान्छी छोरी कुसुम लामा प्रभु ग्रुपअन्तर्गतको उच्च ओहदामा कार्यरत छन् । जेठी छोरी उर्मिला बौद्धमा बस्छिन् । उर्मिलाले कहिलेकाहीँ आएर मेरो हेरविचारमा गर्दै आएकी छन् । २. मैले तीन दशक जति थाई एयरवेजमा काम गरेँ । त्यहाँबाट भएको कमाइले मैले केही सम्पत्ति जोडेको थिएँ । काठमाडौंको गैरीधारामा जोडेको घरजग्गासमेत बेचबिखन गरी मैले काठमाडौं ४ धुम्वाराहीमा घर बनाएको थिए । त्यो घर मैले प्रभु बैंकबाट ऋण लिएर बनाएँ । सो ऋण मैले चुक्तासमेत गरेँ । मैले १० वर्षअघि सो घर मेरो कान्छी छोरी कुसुम लामा तामाङको नाममा राखेको थिए । कुसुमलाई म अत्यधिक माया गर्ने गर्थेँ । उनलाई मैले सानैदेखि रेखदेख र पालनपोषणमा साथ दिए । जागिरमा रहँदा युरोप भ्रमण गराए । पारिवारिक खुसी र विश्वासमा मैले कुसुमको नाममा घर राखिदिएँ । तर मेरो जीवनमा तिनै छोरी कुसुमबाट बज्रपात हुन पुग्यो । कुसुमले मलाई थाहै नदिई सो घरजग्गा बेचिदिइन् । पाँच करोड ६० लाख रुपैयाँमा म बसिरहेको घर एकलौटी रूपमा बेचिदिइन् । मसँग त्यो घरबाहेक कुनै अचल सम्पत्ति छैन । सोही घरको पाँचौँ तलामा म रहँदै आएकोमा केही सामान्य फर्निचर, लत्ताकपडा र किचेनका सामग्रीबाहेक मसँग केही छैन । सो घरको सुरुको दुई वर्षको भाडा मैले पाएको थिएँ । करिब ८ वर्षदेखिको करिब एक करोड रुपैयाँ घर भाडा मैले पाएको छैन । यतिबेला म घर न घाटको जस्तै भएको छु । आफैँले दुख गरेर छोरीको नाममा किनेर राखेको घर अमानवीय तरिकाले सडकमै पुग्ने गरी बेचिदिँदा म शारीरिक रूपमा कमजोर र मानसिक रूपमा पनि विक्षिप्त भएको छु। ३. आफ्नै सन्तानबारे यी शब्द लेखिरहँदा मलाई अत्यन्तै पीडा भइरहेको छ । तर यथार्थ र नियति यही हो । समय र नियतिले मलाई यो उमेरमा करिब आधा दर्जन मुद्दाको बोझमा जकडेको छ । म कानुन जान्दिनँ । यहाँ मैले भनेको सबै हुनुपर्छ भन्ने छैन । तर मैले न्याय पाउनु पर्छ । मैले जोडेको घर मेरो सहमति बिना बेचबिखन हुन सक्दैन । मैले बनाएको घरको भाडा मैले पाउनुपर्छ । ४. यतिबेला मेरो घरमा अनधिकृत मानिसहरू आउने तथा थर्काउनेगरिरहेकाछन्। महानगरीय प्रहरी वृत्त महाराजगन्जको क्षेत्राधिकारमा पर्ने मेरो घरमा गुन्डाहरू प्रयोग गर्ने, अनधिकृत रूपमा जोकोहीलाई भाडालगाउने जस्ता क्रियाकलाप भइरहेका छन् । ८१ वर्षको उमेरमा म बुढोलाई घरबाट निकाल्ने प्रपञ्च भइरहेको छ । अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा म बुढोलाई मानसिक तनाव दिने काम भइरहेको छ । एकलौटी रूपमा मेरो घरजऊगा बेचिएकोले सो बदर हुनुपर्छ र मैले नै भोगचलन गर्न पाउनुपर्छ । अनि मेरो घरमा भइरहेको गुण्डागर्दी तत्काल रोकियोस् भनी यो निवेदन पेस गर्दछु । यो विषम परिस्थितिमा म ज्येष्ठ नागरिकले न्यायको आशाका लागि गुहार्ने कि मर्नेबाहेक अरू कुनै बाटो देखिनँ । कानसमेत कम सुन्ने म बुढो न्यायको भिख माग्दै यो पत्र लेख्दै छु । कृपया न्याय गरी म वृद्धको उद्धार गरिदिनु हुनेमा आशावादी छु । सर्वजीत सिंह तामाङ काठमाडौं ४, धुम्बाराही
बाँकेमा होली पर्व लक्षित सुरक्षा योजना नेपालगञ्ज। प्रहरीले नजिकिँदै गरेको होली पर्वलाई लक्षित गरेर बाँकेमा सुरक्षा व्यवस्था कडा पारेको छ। पर्वमा कुनै आपराधिक घटना हुन नदिन ‘हाइवे चेकिङ’, एम्बुस चेकिङ, डग स्निफिङ, सरप्राइज चेकिङ, मोबाइल गस्ती, पैदल गस्ती, सिसीटिभी निगरानी, स्कटिङ, काउन्टर पार्टस्, क्विक रेस्पोन्स टिम र कमाण्ड पोष्टमार्फत सुरक्षा अवस्था निगरानी हुने गरी योजना बनाएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए। विशेष सुरक्षा योजनाअन्तर्गत प्रहरीको टोलीले पर्वमा हुनसक्ने आकस्मिक अप्रिय घटना रोक्न केही दिनअघिदेखि आफूहरूले काम सुरु गरेको उल्लेख गर्दै उहाँले लागुऔषध ओसारपसारलाई नियन्त्रण तथा रोकथामलाई चुस्त बनाउन सीमानाकामा विशेष जाँच अभियान सुरु गरेको बताए। “हामीले त्यो काम अझ प्रभावकारी होस् भनेर त्यसप्रकारको जाँचमा तालिमप्राप्त कुकुरसमेत प्रयोग गरिरहेका छौँ”, उनले भने। पर्व लक्षित सुरक्षा योजनाबमोजिम सीमा क्षेत्रमा हुने लागुऔषध ओसारपसारलाई नियन्त्रण तथा रोकथाम गर्नका लागि जिल्ला प्रहरी कार्यालय बाँके, इलाका प्रहरी कार्यालय जमुनाहा, लागुऔषध नियन्त्रण ब्यूरो बाँके र के–नाइन शाखा कोहलपुर बाँकेद्वारा संयुक्तरूपमा ‘डग स्निफिङ’ तथा जाँच पनि सुरु भएको प्रहरी उपरीक्षक राठौरले जानकारी दिए। उनले खासगरी ‘डग स्निफिङ’ बाट केही लागुऔषध बरामद भएको र होटलहरूमा समेत परिचालन गर्ने तयारी भइरहेको बताए। “यहाँको सुरक्षा व्यवस्थालाई लिएर हामी गम्भीर भएर लागेका छौँ”, उनले भने। प्रहरीले सुरक्षा व्यवस्था चुस्त राख्नका लागि गण र गुल्महरूसँग पनि आवश्यक समन्वय गरेको बताइएको छ।
धराप बन्दै जाजरकोटका सडक जाजरकोट। पश्चिम जाजरकोटमा जताततै सडक निर्माण गरिए पनि यातायातका साधन गुड्न भने मुस्किल हुँदै आएको छ। हिउँदयाममा समेत यहाँका सडकमा यातायातका साधन सञ्चालन गर्न विद्युतीय धरापझैँ हुँदै आएका छन्। भेरी करिडोरसँग जोडिएको छेडा–कचाली सडकबाट मोर्क हुँदै जुनिचाँदे र कुशेसम्मका सडक विद्युतीय धरापजस्तै असहज बन्दै आएका छन्। मापदण्डविपरीत जहाँतहीँ डोजरको सहायताले खनिएका सडकमा बर्सेनि पालिकाबाट बजेट विनियोजन गरी माटो कोट्याएर सम्याउनका लागि कमाइखाने भाँडोसमेत हुँदै आएको लुहाद निवासी जुनिचाँदे गाउँपालिकाका रेशमबहादुर खड्काले बताए। पछिल्लो पाँच वर्षको रेकर्ड हेर्दा यस क्षेत्रमा आधा दर्जन सवारी दुर्घटनासमेत भइसकेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ। निजी सवारीसाधनको बिगबिगी रहेको यहाँका सडकमा गुड्ने सीमित सवारीसाधनले जाजरकोटबाट काठमाडौँ गएकोभन्दा बढी भाडा असुल्ने गरेको उनको गुनासो थियोे। चार जना अट्ने गाडीमा आवश्यकताभन्दा बढी यात्रु राखेर भाडा असुल्ने गरेको सर्वसाधारणको आरोप थियो। अधिकांश पालिकाले निर्माण गरेका प्रदेशका सडकमा यातायातका साधन गुडाउन सक्ने अवस्था नरहेको नलगाडका लोकेन्द्र केसीले बताए। जताततै सडक खनेको देखिन्छ तर हलुका सवारीसाधन समेत त्यहाँ चल्न मुस्किल रहँदै आएको उनको भनाइ थियोे। पश्चिम जाजरकोटमा छेडागाड नगरपालिका, शिवालय गाउँपालिका र जुनिचाँदे गाउँपालिका छन् तर पालिकाको मुकाम जान र आउन नै मुस्किल हुँदै आएको छ। शिवालय गाउँपालिकाको प्रशासकीय केन्द्र जोड्न गरिएको कालोपत्रसमेत लथालिङ्ग भएकोे छ। ठाउँ–ठाउँमा कालोपत्र भत्किएका कारण सडक धरापमा परिणत भएको छ। त्यस्तै छेडागाड नगरपालिका हुँदै जुनिचाँदे गाउँपालिका, कुशे गाउँपालिका पुग्ने सडक काम नलाग्ने अवस्थामा पुगेको र बर्सेनि चुनावी नारा बन्ने यहाँका सडक नाम मात्रका बन्दै आएको सवारी चालकको गुनासो छ। खरिद गुरुयोजना स्वीकृत नगर्दा सडक निर्माणमा बाधा अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गरेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्राचार गरेका जाजरकोटका केही सडकमा खरिद गुरुयोजना स्वीकृत नहँुदा काममा समस्या हुँदै आएको छ। विसं २०७९ असोज ११ गते अर्थ मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गरे पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले खरिद गुरुयोजना स्वीकृत नगर्दा सडकको काम अगाडि बढ्न सकेको छैन। रु एक अर्ब ८४ करोड अर्थ मन्त्रालयले स्वीकृत गरिसकेको प्रतिनिधिसभा सदस्य शक्तिबहादुर बस्नेतले जानकारी दिए। पश्चिम क्षेत्रको छेडा, वडावन, साना खोला, चाँदे र टोप्ला सडकको स्तोन्नति, चैखिला साना खोला जुनी सडक छन्। त्यस्तै पूर्वमा रहेका सडकमा खलङ्गा, बोहरा, इबर, गङ्गटिया र मेलटारी वैकल्पिक राजमार्ग भेरी नगरपालिकाको जाजरकोट, खारा, चारगाँ, ऐरार्नी, गर्छिना, समाइला र जुम्ला जोडने सडकमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले खरिद गुरुयोजना स्वीकृत नगर्दा काम सुरु हुन नसकेको हो। ट्रयाकओपन भएका यी सडकमा स्तरोन्नति नहुँदा विद्युतीय धरापका रुपमा विस्तार हुँदै गरेका छन्।
जडिबुटीको निकासी पैठारीलाई व्यवस्थित गर्न सरकारले नीतिगत निर्णय गर्दै (भिडियो) काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जडिबुटीको निकासी पैठारीलाई व्यवस्थित गर्न सरकारले नीतिगत निर्णय गर्ने बताएका छन् । महर्षि वैदिक फाउण्डेसन र नेपाल आयुर्वेद चिकित्सक संघले शुक्रबार काठमाडौँमा आयोजना गरेको अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलनलाई सम्बोधन गर्दै उनले गुणस्तरीय आयुर्वेद औषधि उत्पादन तर्फ उन्मुख आयुर्वेद औषधि कम्पनीको प्रवर्धनका साथै आयुर्वेद औषधिको उत्पादनका लागि अति आवश्यक जडिबुटीको निकासी पैठारीलाई व्यवस्थीत गर्न नीतिगत निर्णय गर्ने बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले सरकारका तर्फबाट ३०० वर्ष पुरानो इतिहास बोकेको सिंहदरबार वैद्यखाना लाई राष्ट्रिय गौरबको योजनाका रुपमा अगाडी बढाइने बताए । राष्ट्रिय आयुर्वेद अनुसन्धान केन्द्रलाई पूर्ण रुपमा क्रियाशील बनाई नेपालका रैथाने जडिबुटीको अध्ययन अनुसन्धानलाई द्रुत गतिमा अगाडी बढाउन आवश्यक नीतिगत निर्णय गरिने उनले बताएका छन् । उनले प्रत्येक प्रदेशमा आयुर्वेद औषधि उत्पादन केन्द्र, जडिबुटी संकलन एवं प्रशोधन केन्द्रको स्थापनाको नीति ल्याइने बताए । उहाले स्वास्थ्य पर्यटनलाई प्रवर्धन गर्न आयुर्वेद, पंचकर्म, योग, ध्यान कार्यक्रम संचालन गर्न अस्पताल, उपचार केन्द्रहरु स्थापना गरिने बताए । भारत सरकारले उच्च प्राथमिकतामा राखेको आयुर्वेद अनुसन्धानको कार्यलाई नेपालमा पनि निरन्तरता दिन आवश्यक सहकार्य गर्ने उनले बताए। त्यस्तै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आयुर्वेद अनुसन्धानको कार्यमा भारतले नेपालसंग सहकार्य गर्ने बताए । आयुर्वेदको प्रवद्र्धनका लागि भारतको नरेन्द्र मोदी नेतृत्वको सरकारले आयुष मन्त्रालय नै स्थापना गरेर यस क्षेत्रलाई महत्व दिएको उनले बताएका छन्। ‘सबैका लागि समग्र स्वास्थ्योपचार’ भन्ने नाराका साथ काठमाडौंमा सुरु सम्मेलन दुई दिनसम्म चल्ने छ । सम्मेलनमा नेपाल र भारतका आयुर्वेद विज्ञ र युरोप र अमेरिकालगायतका अन्तर्राष्ट्रिय आयुर्वेद क्षेत्रका विज्ञहरु, उत्पादक, व्यवसायीलगायतको सहभागिता छ । हेर्नुहोस् भिडियो: