content
stringlengths
20
64.1k
पत्रकारिताबारे अनुभव नहुनेले अनलाइन सञ्चालन गर्दा चुनौती बढ्योः प्रेस काउन्सिल अध्यक्ष बस्नेत काठमाडौं। प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले अनलाइन सञ्चारमाध्यममा समाचारलाई विश्वसनीय र सन्तुलित बनाउन पत्रकार आचारसंहिता कार्यान्वन गर्नुपर्ने बताएका छन्। आज यहाँ काउन्सिल नेपालले नियमितरूपमा सञ्चालन गर्दै आएको अभिमुखीकरणको २२औँ शृङ्खलामा उनले नयाँ दर्ता भएका अनलाइन सञ्चारमाध्यमका सञ्चालक र सम्पादकलाई विश्वसनीय, सन्तुलित र खोजमूलक समाचार सामग्री प्रकाशन गर्न सुझाव दिएका हुन्। उनले भने, “अनलाइन सञ्चारमाध्यम विश्वसनीय र सन्तुलित बन्न सकेका छैनन्। अनलाइन सञ्चारमाध्यमको सङ्ख्या वृद्धि भएको छ। तर स्रोत, साधन र व्यवस्थापनमा अभाव कायम छ।” अध्यक्ष बस्नेतका अनुसार पत्रकारिता अध्ययन गरेका भन्दा बाहिरका व्यक्ति आमसञ्चारमाध्यमको सञ्चालनमा आबद्ध हुने क्रम बढेको हो। त्यसकारण पनि पत्रकार आचारसंहिता र निर्देशिकासम्बन्धी अभिमुखीकरण कार्यक्रम आवश्यक भएको उनको भनाइ छ। “परिचयपत्र पाइन्छ, ज्याकेट लगाउन पाइन्छ, पहुँच बन्छ भन्ने हिसाबले पनि सञ्चारमाध्यम दर्ता गर्नेको भीड देखिन्छ। त्यस्ता सञ्चारमाध्यमका सञ्चालक सुरुमा धेरै उत्साही हुने तर काम गर्दै जाँदा झारा टार्ने प्रवृत्ति र हुबहु सार्ने प्रवृत्ति देखिएको छ”, उनले भने। उनले गुणस्तरीय पत्रकारिता गर्न सहभागीलाई सुझाव दिए। आचारसंहिता अभिमुखीकरण कार्यक्रममा प्रशिक्षक पत्रकार सुरेशप्रसाद आचार्यले पत्रकारिता अनुभव नभएका व्यक्तिलाई अनलाइन सञ्चारमाध्यम सञ्चालन चुनौतीपूर्ण भएको बताए। “पत्रकारिता गर्दैगर्दा त्यसको आधारभूत मूल्य, मान्यताबारे जानकार हुनुपर्छ। पत्रकारिताको अनुभव र सीपको अभावमा नजानेर पनि गल्ती भइरहेको हुन्छ। धेरै साथीहरू पत्रकारिताको अनुभवबिना आउँदा गुणस्तरीय पत्रकारितामा चुनौती थपिएको छ।” उनका अनुसार पछिल्लो समय सामाजिक सञ्जालमा हरकोही पत्रकारजस्ता देखिन्छन्। तर आमसञ्चारमाध्यममा आउने जो–कोही पत्रकार होइनन्। “अरुभन्दा फरक हुन, जिम्मेवार, तथ्यपरक र खोजमूलक समाचारका लागि आउने हो”, उनले भने। आचार्यले आमसञ्चारमाध्यमको पहुँचको प्रलोभनमा अनलाइन सञ्चारमाध्यम सञ्चालन नगर्न आग्रहसमेत गरे। काउन्सिल नेपालले नयाँ सूचीकृत अनलाइन सञ्चारमाध्यमका सञ्चालक र सम्पादकलाई अभिमुखीकरण दिँदै आएको छ। प्रवक्ता दीपक खनालले आचारसंहिता अभिमुखीकरण कार्यक्रमले एक वर्ष पूरा गरेको जानकारी दिए। गत वर्ष २०७८ चैत ११ गतेदेखि सुरु भएको अभिमुखीकरण कार्यक्रमा विभिन्न छ सय ७१ अनलाइन सञ्चारमाध्यमका एक हजार ४० जना सहभागिता जनाएका छन्। अध्यक्ष बस्नेतको नेतृत्वमा प्रशिक्षणको कार्यक्रम अघि बढेको हो। उनले भने, “अनलाइन सञ्चारमाध्यमको सङ्ख्या तीन हजार बढी पुगेको छ। आचारसंहिता उल्लङ्घनको उजुरी र गुनासा पनि यही सञ्चारमाध्यमको धेरै छ। नयाँ दर्ता भएका अनलाइन सञ्चारमाध्यमलाई अभिमुखीकरण दिइरहेका छाँै।” अभिमुखीकरणका लागि काउन्सिलले सञ्चारमाध्यमबाट रकम सङ्कलन गर्ने गरेको छ। सीमित स्रोत साधनका बाबजुद अभिमुखीकरण कार्यक्रमको सकारात्मक प्रतिक्रिया आउने गरेको उनले बताए। “विभिन्न आमसञ्चारमाध्यमको अनुभव भएका पत्रकार केही प्रतिशत हुनुहुन्छ। अन्य क्षेत्रमा संलग्नको आकर्षण बढी देखिन्छ। पत्रकारिताबारे कम अनुभव र कम जानकार सञ्चालकका लागि यस कार्यक्रम प्रभावकारी भएको पाएका छाँै। सहभागीहरूबाट सकारात्मक प्रतिक्रिया पाएका छौँ”, उनले भने।
घरेलु उद्योगमा पनि बागमतीको हिस्सा माथि, कर्णाली सबैभन्दा कमजोर काठमाडौं। मुलुकको अर्थतन्त्रको आधारस्तम्भका रूपमा रहेको घरेलु व्यवसाय तथा उद्योग सञ्चालन गर्नेमा बागमती प्रदेश शीर्ष स्थानमा रहेको छ। अन्य प्रदेशमा पनि घरेलु उद्योग सञ्चालन गर्न सकिने भए पनि सङ्घीय राजधानी रहेको बागमती प्रदेशको हिस्सा बढी छ। आर्थिकरूपमा पछाडि परेको कर्णाली प्रदेश घरेलु उद्योगमा समेत कमजोर अवस्थामा रहँदा बागमती प्रदेशको हिस्सा बढी रहेको राष्ट्रिय जनगणनाको पछिल्लो विवरणमा उल्लेख छ। देशभर कुनै पनि सरकारी निकायमा दर्ता नगरेका र एक जना पनि तलबी कामदार नराखेका कृषिबाहेकका साना घरेलु व्यवसाय सञ्चालन गरेका परिवार छ लाख २७ हजार आठ सय ८७ छन्। साना घरेलु व्यवसाय सञ्चालन गर्ने कूल परिवारमध्ये घरेलु उद्योग सञ्चालन गर्ने परिवार नौ दशमलव् चार प्रतिशत रहेको छ। साना घरेलु व्यवसाय सञ्चालन गर्ने कूल परिवारमध्ये घरेलु उद्योग एक लाख ३७ हजार छ सय ४४ बराबर छ। व्यापार व्यवसायमा तीन लाख १० हजार छ सय ५१, यातायातमा ३४ हजार छ सय ५६, सेवा क्षेत्रमा ६९ हजार एक सय ७७ र अन्य व्यवसायमा ७५ हजार पाँच सय ५९ बराबर छ। साना घरेलु व्यवसायमध्ये मुख्यरूपमा पुरुषले सञ्चालन गरेका ५५ प्रतिशत र महिलाले सञ्चालन गरेका ४५ प्रतिशत छन्। यस्तै जनगणनाअनुसार १० वर्ष वा सोभन्दा बढी उमेरका कुल जनसङ्ख्याको ३३ दशमलव एक प्रतिशत मानिस अविवाहित छन् भने ६१ दशमलव आठ प्रतिशत मानिस विवाहित छन्। राष्ट्रिय जनगणना २०७८ को नतिजाले धेरैजसो व्यक्ति ३४ दशमलव चार प्रतिशतको विवाह १८ देखि २० वर्षको उमेरमा भएको देखाएको छ। मुलुकको कूल साक्षरता दर ६७ दशमलव तीन प्रतिशत बराबर छ। पुरुषको साक्षरता दर ८३ दशमलव छ प्रतिशत छ भने महिलाको साक्षरता दर ६९ दशमलव चार प्रतिशत छ। कृषिमा संलग्न जनसङ्ख्या बढी राष्ट्रिय जनगणनाअनुसार आर्थिक काममा संलग्न एक करोड ४९ लाख ८३ हजार तीन सय १० जनसङ्ख्या छन् । त्यसमध्ये सबैभन्दा धेरै कृषि, वन र माछापालन क्षेत्रमा ५७ दशमलव तीन प्रतिशत रहेका छन्। थोक एवं खुद्रा व्यापार, मोटरगाडी तथा मोटरसाइकल मर्मतमा १२ दशमलव पाँच प्रतिशत, निर्माणमा आठ दशमलव एक प्रतिशत, अन्य सेवामा तीन दशमलव नौ प्रतिशत, औद्योगिक उत्पादनमा तीन दशमलव आठ प्रतिशत जनसङ्ख्या संलग्न छन्। विद्यार्थी भएका कारण आर्थिक काम नगर्नेको सङ्ख्या पनि उत्तिकै छ। दश वर्ष वा सोभन्दा बढी उमेरका व्यक्तिमध्ये कुनै पनि आम्दानी हुने वा नहुने आर्थिक काम नगरेका व्यक्तिमध्ये सबैभन्दा धेरै ४६ दशमलव नौ प्रतिशत विद्यार्थी भएकाले आर्थिक काम नगरेको देखिन्छ। घरधन्दामा २१ दशमलव नौ प्रतिशत, वृद्धावस्थामा ११ प्रतिशत, पारिवारिक हेरचाह सात दशमलव पाँच प्रतिशत, अन्यमा सात दशमलव चार प्रतिशत, अशक्त बिरामी दुई दशमलव पाँच प्रतिशत, पेन्सन आयमा दुई दशमलव दुई प्रतिशत र सामाजिक कार्य र स्वयंसेवा शून्य दशमलव तीन प्रतिशत रहेको छ।
बायोग्राफी लेख्दै महावीर पुन काठमाडौं। राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुन यतिबेला बायोग्राफी लेख्न व्यस्त छन्। उनी बायोग्राफीबाट प्राप्त पैसालाई आविष्कार केन्द्रमै खर्च गर्नका लागि बायोग्राफी लेख्न व्यस्त भएका हुन्। उनले आफूले बायोग्राफी लेख्ने भन्ने कहिल्यै नसोचेको बताए। ‘मैले मेरो जीवनी लेख्ने सोचेकै पनि थिइनँ। मेरो बायोग्राफी लेख्नका लागि कति मान्छेहरु मलाई नसोधी भेट्न आए। मैले त्यो बेला मेरो जीवनी नलेख्नु, मलाई चाहिँदैन नै भनिदिएँ’, महावीरले भने, ‘अहिले आएर केन्द्रका लागि दुई चार पैसा आउँछ भने किन नलेख्ने भनेर केही समययता दैनिक रुपमा बायोग्राफी लेखिरहेको छु। बायोग्राफी आविष्कार केन्द्रप्रति समर्पित हुनेछ।’ उनले कुनै कार्यक्रममा जानै पर्ने अवस्था आएमा मात्र आफू पुग्ने गरेको र त्यो बाहेकको समय बायोग्राफीमै दिएको बताए। उनका अनुसार तीन महिनाभित्र उनको बायोग्राफी पाठकले पढ्न पाउनेछन्। कुनै प्रकाशन गृहबाट बायोग्राफी बजारमा आउँछ भन्ने निश्चित नभइसकेको उनले खुलाए।
बेलारुसमा अलपत्र पारिएका ९ जना महिलाहरुलाई नेपाल फर्काइयो काठमाडौं । बेलारुसमा अलपत्र पारिएका नौ जना नेपाली महिलाहरुलाई आम जनदवाव र सामाजिक अभियन्ताहरु मिलेर स्वदेश फर्काइएको छ । स्वदेश फर्किनेमा सानुमाया तामाङ, कविता थापा मगर, अन्जना मगर, रत्नमाया राई, पावती तिलुङ, रमिता राई, सानुमाया तामाङ, मीना गुरुङ र मार्था सोताङ राई गरेर ९ जना नेपाली चेलिहरु रहेका छन् । उक्त कार्यमा नेपाल सरकारका विभिन्न निकायहरु विशेषत रुसमा रहेका नेपाली राजदूताबास, नेपालको कन्सुलर विभाग, वैदेशिक रोजगार विभाग, नेपाल प्रहरीको राम्रो साथ सहयोग प्रदान भएको सामाजिक अभियन्ता कृतु भण्डारीले जानकारी दिएकी छिन् । उनले भने, ‘यो कार्यमा नेपाल सरकारका विभिन्न निकायहरु विशेपत रुसमा रहेका नेपाली राजदूताबास नेपालको कन्सुलर विभाग, वैदेशिक रोजगार विभाग, नेपाल पहीले पनि यसमा राम्रो साथ सहयोग प्रदान गरेको छ । विभिन्न राजनीतिक दलहरुले यसमा चासो राखी उत्प्रेरणा प्रदान गरेको, एक राजनीतिक दल नेकपा एकीकृत समाजवादीले वक्तव्य नै जारी गरी नेपाल सरकारलाई दवाव सिर्जना गरेको र आम नागरिकहरुले विभिन्न तरिकाले सहयोग प्रदान गर्नुभएको छ ।’ उनले ९ जना महिलाहरुलाई गलत कागजात बनाई विदेशमा अलपत्र पार्नेहरुको खोजी गरी कानूनी कारवाहीको साथै ठगी वा मानव बेचविखनको आपराधिक जालोमा नपर्ने प्रकारको कानूनी व्यवस्था र आधुनिक प्रणालीहरुको व्यवस्था गर्न माग गरेकी छिन् । वैदेशिक रोजगारमा जानका लागि कुनै पनि प्रकारको स्वीकृति दिने सरकारी निकाय भएपनि यस्तो कार्यबाट सिर्जित समस्या विभागको कार्यक्षेत्र भित्र नपर्ने व्याख्या गरेको भन्दै यस्तो कामको जिम्मेवारी सरकारले लिनुपर्ने पनि उनको भनाई छ । यस विषयप्रति चासो देखाउदैँ उत्प्रेरणा प्रदान गर्ने नेकपा एकीकृत समाजवादी, आम नागरिक र प्रतिनिधि संगठन अखिल नेपाल महिला संघलगायत सम्पूर्ण सहयोगी हातहरुलाई पनि उनले धन्यवाद ज्ञापन गरेकी छिन् ।
भूपु सैनिकको जीवन सहज तुल्याउन कल्याणकारी कोषः प्रधानसेनापति खैरेनीटार। प्रधानसेनापति प्रभुराम शर्माले भूपु सैनिकको जीवन सरल, सहज र सुखी तुल्याउन कल्याणकारी सेवामार्फत विभिन्न प्रयास भइरहेको बताएका छन्। नेपाली सेनाको ३ नं बाहिनी खैरेनीटारमा आज आयोजित कार्यक्रममा उनले नेपाली सेना भूपु सैनिक सङ्गठनको प्रतिनिधिपात्र भएकाले सवल, सक्रिय र स्वावलम्बी भएको हेर्न चाहेको धारणा व्यक्त गरे। प्रधानसेनापति शर्माले भने, “हिताधिकारीको चाहाना र आकाङ्क्षा असीमित भए पनि सङ्गठनले सीमित साधनस्रोतलाई अधिकतम परिचालन गरी जीवनस्तर उकास्न विभिन्न प्रयास गरिरहेको छ।” बलाधिकृत रथी सरोजप्रताप राणाले भूपु सैनिकले समाजमा गरेको योगदान र अनुशासनले सङ्गठनको ओझ बढाएको बताए। सैनिक कल्याणकारी बोर्डका प्रमुख कार्यकारी अधिकृत गौरव तन्डुलले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सहकार्यमा सञ्चालित सहुलियत कर्जा ३२ हजार ७७३ जनाले रु सात अर्ब १८ करोड ३६ लाख ९९ हजार कर्जा सुविधा लिइ भूपु सैनिक र उनका परिवारले विभिन्न कार्यक्रम सञ्चालन गरेको जानकारी दिए। नेपाल राष्ट्रिय भूपु सैनिक सङ्घका सभापति दिगम्बर शर्मा राणाले कल्याणकारी कोषबाट सञ्चालित विभिन्न कार्यक्रमबाट भूपु सैनिक र परिवारजनलाई जीवनस्तर उकास्न प्रत्यक्ष र परोक्ष सहयोग पुगिरहेको बताए। अवकाश सैनिककोतर्फबाट अवकाश प्राविधिक रथी प्रतिनिधि पूर्वरथी अम्मर पन्तले भूपु सैनिकको आर्थिक सामाजिक जीवनस्तर उठाउने लक्षित कार्यक्रम प्रभावकारी रहेको उल्लेख गरे। गोरखा, लमजुङ र तनहुँका भूपु सैनिकलाई लक्षित गरी आयोजना गरिएको सम्मेलनमा छ हजार चार सय जनाको सहभागिता थियो। सम्मेलनमा भूपु सैनिक र एकल महिलालाई सम्मान अपाङ्ग तथा अशक्तलाई ह्लिचियर वितरण लघु उद्यम व्यवसायीलाई प्रशंसापत्र एवं पुरस्कार प्रदान गरियो। सो अवसरमा चार वा सोभन्दा बढी सन्ततिलाई सेनामा राष्ट्रसेवामा पठाउने मातापितालाई सम्मान गरियो। सम्मेलनमा जिल्लागत झाँकीका साथै राष्ट्रिय एकता झल्कने सामूहिक नृत्य सैनिक व्याण्ड प्रस्तुत गरियो । सम्मेलनका क्रममा खुकुरी ड्रिल, तेक्वान्दो तथा पिटी सामूहिक प्रदर्शन गरिएको थियो।
को हुन् ३० औं आईजीपीमा नियुक्त कुँवर? काठमाडौं। नेपाल प्रहरीको महानिरीक्षकमा वसन्तबहादुर कुँवर नियुक्त भएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) कुँवरलाई प्रहरी महानिरीक्षक (आईजीपी)मा बढुवा गरेको हो। कुँवर नेपाल प्रहरीको ३० औं प्रहरी महानिरीक्षक (आईजीपी) बनेका हुन्। कुँवरले आइतबारदेखि कार्यभार सम्हाल्नेछन्। ३० वर्षे सेवा अवधिका कारण शुक्रबार राति १२ बजेबाट प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह अवकास पाउँदै छन्। उनी अवकास हुन लाग्दा सरकारले नयाँ आईजीपी नियुक्त गरेको हो। महानिरीक्षक कुँवर अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका १ मा विसं २०२६ चैत १५ गते जन्मिएका हुन्। भीम बहादुर कुँवर र नमकला कुँवरका छोरा वसन्तका दाजु बाबुराम कुँवर गण्डकी प्रदेश प्रमुख भइसकेका छन्। उनकी श्रीमती लक्ष्मी पराजुली र २ छोरा छन्। प्रहरी महानिरीक्षक कुँवरले २०५१ चैत ५ गते प्रहरी निरीक्षक पदबाट नेपाल प्रहरी सेवामा प्रवेश गरेका हुन्। व्यावशायीक, निष्ठावान र साहसी प्रहरी अधिकृतको रूपमा पहिचान बनाएका प्रहरी महानिरीक्षक कुँवर २०६३ भदौ ८ गते प्रहरी नायव उपरीक्षकमा बढुवा भएका थिए। २०७१ फागुन १० गते प्रहरी उपरीक्षक र २०७५ फागुन ६ गते प्रहरी वरिष्ठ उपरीक्षक भएका थिए। भर्ना हुँदा अघिल्लो वरियतामा रहेका कुँवर डीएसपी, एसपी र एसएसपीमा बढुवा हुँदा भने पछि पारिएका थिए। तर २०७९ असार १७ गते प्रहरी नायब महानिरीक्षकमा पहिलो नम्बरमा बढुवा भएसँगै कुँवरलाई भाबी आईजीपीका रुपमा हेरिएको थियो। २०७९ चैत ६ गते प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुँदा पनि पहिलो वरियतामै बढुवा भए। त्रिभुवन विश्वविद्यालयबाट व्यापार प्रशासनमा स्नातकोत्तर (एमबिए) शैक्षिक योग्यता हासिल गरेका छन्। प्रहरी महानिरीक्षक कुँवर अन्तर प्रदेश प्रहरी कार्यदक्षता मूल्याङ्कन २०७३ मा सर्वोत्कृष्ट जिल्ला प्रहरी प्रमुख हुन सफल भएका थिए। त्यतिबेला जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत रहँदा पुलिस व्याटन २०७३ प्राप्त गरेका थिए। उनले प्रहरी सेवाको क्रममा सुप्रबल जनसेवा श्री, गोरखा दक्षिणबाहु चौथो, संयुक्त राष्ट्र संघ पदक, गद्दी आरोहण रजत पदक, वीरेन्द्र ऐश्वर्य सेवा पदक, दैवीप्रकोप पीडितोद्वार पदक, दुर्गम सेवा पदक लगायतका विभूषणबाट विभूषित भएका छन्। यसैगरी उनले उत्कृष्ट ढंगले जिम्मेवारी वहन गरेको भन्दै १७ पटक नगद पुरस्कार प्राप्त गरेका छन्। उनले प्रहरी निरीक्षक आधारभूत तालिमसँगै मानव अधिकार प्रशिक्षक प्रशिक्षण तालिम, विशिष्ट व्यक्तिको सुरक्षा तालिम, अपराध अनुसन्धान तालिम, प्रशिक्षक प्रशिक्षण तालिम, ईन्भेस्टिगेटिभ ईन्टरभ्यु ट्रेनिङ कोर्ष, जमीनमुनीको विष्फोटक पदार्थ र अन्य विष्फोटन सामाग्रीको सामान्य जानकारी, कोर्ष अन ह्युमेनराइट्स एण्ड ल इन्फोर्समेन्टको तालिम गरेका छन्। स्थानीय संस्थाहरूको लागि क्षमता निर्माण, अपराधिक अनुसन्धान विधि तालिम, ट्रेनिङ अफ ट्रेनर्स अन प्रिभेन्सन अफ जेण्डर बेस्ड भ्वायलेन्स एण्ड एचआईभी एड्स, प्रजातान्त्रिक प्रहरी र मानवाधिकार तालिम, महिला तथा बालबालिकासम्बन्धी अपराध अनुसन्धान माष्टर प्रशिक्षक प्रशिक्षण तालिम, करप्सन एण्ड फाईनान्सियल ईन्भेष्टिगेसन मेथोडोलोजी ट्रेनिङ वर्कसप फर सिआईएए नेपाल, अपराध व्यवस्थापन कोर्ष, द्वन्द्व व्यवस्थापन तालिम र रेजनल सिनियर मिसन लिडर्स कोर्सलगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम हासिल गरेका छन्। प्रहरी महानिरीक्षक कुँवरले प्रहरी निरीक्षक र प्रहरी नायव उपरीक्षक हुँदा गुल्मी, सुनसरी, सिन्धुली, मोरङ, दाङ, रोल्पा, काठमाडौं, नवलपरासी र डोटीमा खटिएका थिए। प्रहरी नायव उपरिक्षकमा मनाङ, गोरखा, धादिङको जिल्ला प्रहरी प्रमुखका रुपमा काम गरेका थिए भने प्रहरी उपरीक्षक भएपछि चितवन र नुवाकोट जिल्लाको कमाण्ड गरेका थिए। प्रहरी वरिष्ठ उपरीक्षक भएपछि केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी सम्हालेका उनले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी युक्ति तालिम महाविद्यालय नवलपरासीमा काम गरेको अनुभव छ। प्रहरी नायव महानिरीक्षकमा मधेश प्रदेश प्रहरी प्रमुख र नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागमा काम गरेका थिए। संयुक्त राष्ट्र संघीय मिसन सुडान र लाइबेरियामा काम गरेको अनुभव छ। कुँवर २०७९ चैत ६ मा प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नति भएका हुन्।
नेपाल प्रहरीको महानिरीक्षकमा वसन्तबहादुर कुँवर नियुक्त काठमाडौं। नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वसन्तबहादुर कुँवरलाई नियुक्त गरिएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कुँवरलाई महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो। बढुवा सिफारिसको १ नम्बरमा रहेका कुँवरलाई सरकारले महानिरीक्षकमा बढुवा गरेको हो। उनीसँगै एआईजी टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य महानिरीक्षक पदका लागि प्रतिष्पर्धामा थिए।कुँवरले एक वर्ष महानिरीक्षकको जिम्मेवारी सम्हाल्नेछन्।
जनगणनाबाट राष्ट्रिय विकास लक्ष्यको अनुगमन गर्न सघाउ पुग्छ: प्रधानमन्त्री दाहाल (भिडियो) काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनगणनाबाट राष्ट्रिय विकास लक्ष्यको अनुगमन तथा मूल्याङ्कन र विद्यमान सूचकको विश्लेषणमा सघाउ पुग्ने बताएका छन् । शुक्रबार काठमाडौंमा राष्ट्रिय जनगणना–२०७८ को राष्ट्रिय प्रतिवेदन सार्वजनिक गर्दै प्रधानमन्त्री प्रचण्डले जनगणनाबाट जनसङ्ख्या र विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालले गरेका प्रतिबद्धता, राष्ट्रिय विकास लक्ष्यको अनुगमन तथा मूल्याङ्कन र विद्यमान सूचकको विश्लेषणमा सघाउ पुग्ने बताए। सङ्घीय व्यवस्थाअनुसार सङ्घ, प्रदेश र स्थानीय तहलाई नीति, योजना तथा कार्यक्रम तयार गर्दा तथ्यमा आधारित निर्णय गर्न थप आधारसमेत प्राप्त हुने उनको भनाइ छ । उहाले जनगणनाका धेरैजसो सूचकमा ग्रामीण र सहरी क्षेत्रकाबीच असमानता देखिएको र यसलाई सम्बोधन गरी नेपालमा विद्यमान असन्तुलित बसाइँसराइलाई व्यवस्थित गर्नुपर्ने देखिएको बताए। जनसङ्ख्या तथ्याङ्क नेपालको तथ्याङ्क प्रणालीको एक अभिन्न अङ्ग भएको जनाउँदै उनले सङ्घ, प्रदेश र स्थानीय तहमा उत्पादन हुने सबै विषयका तथ्याङ्कको गुणस्तर अभिवृद्धि गरी नियमितरुपमा तथ्याङ्कको आपूर्ति हुने व्यवस्था मिलाउन जरुरी रहेको बताए । प्रधानमन्त्री प्रचण्डले तथ्याङ्क प्रणालीको सुदृढीकरण तथा एकीकृत तथ्याङ्क पद्धतिको निर्माण गर्ने उद्देश्यले हालसालै जारी भएको तथ्याङ्क ऐन, २०७९ को कार्यान्वयनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए। कार्यक्रममा केन्द्रीय तथ्याङ्क विभागका उपमहानिर्देशक डा. हेमराज रेग्मीले राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको जनसङ्ख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको जानकारी दिए । जसमा महिलाको सख्ंया १ करोड ४९ लाख ११ हजार २७ र पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५५१ पुगेको छ । जनगणनाको विवरणअनुसार हिमाली तथा पहाडी क्षेत्रमा जनघनत्व क्रमशः कम हुँदै गएको पाइएको छ । सबैभन्दा बढी जनसङ्ख्या शहरी क्षेत्रमा बढेको रेग्मीले बताए। काठमाडौंमा कूल २० लाख ४१ हजार पाँच सय ८७ जनसङ्ख्या रहदा मनाङमा कूल पाँच हजार छ सय ५८ जनाको अक्सर बसोबास रहेको तथ्याङ्क बिभागले जनाएको छ । नेपालमा विसं १९६८ बाट जनगणना सुरु भएको थियो । प्रत्येक १०÷१० वर्षमा जनगणना हुँदै आएको छ । राष्ट्रिय जनगणनाको बाह्रौँ शृङ्खलाअन्तर्गत गत कात्तिक–मङ्सिर महिनामा जनगणना सम्पन्न भएको थियो । हेर्नुहोस् भिडियो:
ईंटा उद्योगको पर्खालले किचेर एक मजदुरको मृत्यु, दुई जना घाइते सिरहा। सिरहामा ईंटा उद्योगको पर्खाल भत्किएर किच्दा एकजना मजदुरको मृत्यु भएको छ भने दुईजना मजदुर घाइते भएका छन्। शुक्रबार गोलबजार ८ मा रहेको सगुन ईंटा उद्योको पर्खालले किच्दा भारतको पूर्वी बङ्गालका मजदुर महिमा बीबीको मृत्यु भएको हो । ईटाभट्टाबाट पोलेको ईंटा निकाल्ने क्रममा भट्टीको पर्खाल भत्किएर किच्दा घाइते भएका महिमाको उपचारको लागि लहान लाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलजारले जनाएको छ। घाइतेहरू ३५ वर्षीय बबी बीबी र ४० वर्षीय ममता बीबीको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। उनीहरूको अवस्था सामान्य रहेको जनाएको छ। शव पोष्टमार्टमको लागि प्रदेशीक अस्पताल लहानमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।  गत फागुन २७ गते गोलबजार ५ स्थित माँ धमिनी ईटा उद्योगको पर्खाल भत्किँदा उद्योगमा कार्यरत ६ जना घाइते भएका थिए। ईंटा उद्योगमा कार्यरत मजदुरहरुलाई समान्य सुरक्षाको व्यवस्थासमेत नमिलाउँदा पटक पटक दुर्घटनामा परि मजदुरहरु अङ्गभङ्ग हुनुको साथै ज्यान नै जाने गरेको छ। यसप्रति सरकोकारबालाहरूको ध्यान जान जरुरी रहेको स्थानीय बताउँछन् ।
पशुपति क्षेत्रमा वत्सलेश्वरी जात्रा समापन काठमाडाैं। मुलुकमा शान्ति होस् भन्ने कामनाले पशुपति क्षेत्रमा गरिएको देशोद्धार पूजासहितको वत्सलेश्वरी जात्रा समापन गरिएको छ। आर्यघाट जाने बाटोस्थित वत्सलेश्वरी मन्दिर परिसरबाट फागुन ३० गते सुरु भएको जात्रा पशुपति क्षेत्रका सबै टोलमा घुमाइएको छ। पशुपति क्षेत्रभर घुमाएपछि बिहीबार राति जात्रा सकिएको पशुपति क्षेत्र विकास कोष अमालकोट कचहरीका द्वारे पूर्ण डङ्गोलले जानकारी दिए। चैत्र कृष्ण अष्टमीका दिन फागुन ३० गते पशुपतिका भट्टले नै जात्रामा उपत्यकाका मुख्य देवदेवी एवं स्थानीयलाई जात्रा हेर्न आउनु भनी निमन्त्रणा रेका थिए। योत्रामा यसरी निमन्त्रणा दिने लिच्छविकालदेखिको परम्परा रहेको जनाइएको छ। उपत्यकाका देवदेवीलाई निमन्त्रणा गरेपछि देशोद्वार पूजासमेत भनिने यो जात्रा सुरु भएको थियो। जात्राअघि बज्रेश्वरी, वत्सलेश्वरी, आकाशभैरव, पशुपति क्षेत्रका नौ शक्तिपीठलगायत स्थानमा देशोद्धार पूजा सम्पन्न गरिएको हो। चैत्र शुक्ल द्वितीयाका दिन बिहीबार राति सिन्दुर जात्रा गरी वत्सलेश्वरी जात्रा समापन गरिएको हो। एघार दिनसम्म चल्ने यो जात्रा पशुपति क्षेत्रका लामो जात्रामध्येको एक हो। मुलुकमा शान्ति होस् भन्ने कामनाले पूजा एवं जात्रा गरिएकाले दूध खाने बालक पनि यो जात्रा हेर्न आउँछन् भन्ने विश्वास पशुपति क्षेत्रमा गरिन्छ। देशोद्धार पूजा र जात्रामा चार थरका मानिस प्रत्यक्षरूपमा संलग्न हुने गरेका छन् । उपाध्याय, वैद्य, डङ्गोल र सङ्गत गरी चार थर प्रत्यक्षरूपमा सहभागी हुने गरेको उनले सुनाए। वत्सलेश्वरीलाई नक्साल भगवतीको दिदीका रूपमा पूजा आराधना गरिन्छ। भगवान् शिवको पत्नीका रूपमा पूजिने वत्सलेश्वरीलाई पशुपतिबाट निकालेको भन्ने किंवदन्तीका आधारमा बिहीबार नक्साल भगवतीको जात्रा पनि पशुपति क्षेत्रमा लगिएको थियो। नक्साल भगवतीले भगवान् शिवको ध्यानाकर्षण गराउन बिहीबार बेलुकी रथले पशुपतिको मूलढोकामा तीनपटक ठोकाएर फर्काउने प्रचलन रहिआएको छ। बहिनीले श्रीमान्को ध्यानाकर्षण गराएपछि वत्सलेश्वरी माता भने चैत्र शुक्ल प्रतिपदा अर्थात् बुधबार राति छोरा चन्द्रविनायककहाँ बस्न जाने परम्परा छ। यसै परम्पराअनुसार बिहीबार वत्सलेश्वरीको रथ तानेर चावहिल गणेशसमेत भनेर पूजिने चन्द्रविनायकमा लगिएको थियो। त्यहाँबाट बिहीबार पशुपति क्षेत्रका विभिन्न स्थानमा घुमाएर पशुपति अमालकोटमा ल्याई सिन्दुर जात्रा गरेपछि ११ दिन लामो जात्रा समापन गरिएको छ। प्रत्येक वर्ष यो जात्रा मनाएमा जनतामा रोग व्याध नलाग्ने, सुख, शान्ति हुने विश्वास रहेको छ। यसै विश्वासले बालबालिका पनि जात्रा हेर्न पशुपति क्षेत्रमा आउने गरेका छन्। रासस
महिलालाई पेट्रोल छर्केर आगो लगाउन खोज्ने पक्राउ रुकुम पश्चिम। रुकुम पश्चिम प्रहरीले एक महिलालाई पेट्रोल छर्केर आगो लगाउन खोज्नेलाई पक्राउ गरेको छ । मुसिकोट नगरपालिका–९ चौखाबाङमा बस्ने ३० वर्षीय महिलालाई आगो लगाउन खोज्ने प्रेमबहादुर केसीलाई प्रहरीले पक्राउ गरेको हो । ३५ वर्षीय केसी तुल्सिपुर उपमहानगरपालिका–१० बेलुवाका हुन् । एक लिटर पेट्रोल शरीरमा छर्किएर लाइटर बाली सल्काउन खोज्दा स्थानीयले देखेपछि केसी भागेका थिए । स्थानीयले प्रहरीलाई खबर गरेपछि जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट खटिएका प्रहरी निरीक्षकको टोलीले केसीलाई पक्राउ गरेको छ । घटनास्थलदेखि उत्तरतर्फ रहेको गहुँ बारीमा लुकेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । महिलाको अवस्था सामान्य रहेको छ । घटनाको कारण नखुलेकाले प्रहरीले अनुसन्धान गरिरहेको छ ।
उपत्यकामा बढ्दो सवारी दुर्घटना : तीन वर्षमा चार सय ८४ जनाको मृत्यु काठमाडौं। गत फागुन २४ गते साँझ काठमाडौँको शङ्खरापुर नगरपालिका साँखुस्थित इन्द्रायणीमा भएको सवारी दुर्घटनामा पत्रकार ५० वर्षीय पवनलाल श्रेष्ठको ज्यान गयो। साँखु-जोरपाटी सडकखण्डमा साँखुबाट ब्रम्हखेल जाँदै गरेको बा५ख २४१४ नम्बरको टिपरले पत्रकार श्रेष्ठले चलाएको बा९४प ४४९८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा साँखुबाट प्रकाशित हुँदै आएको लावण्य साप्ताहिक पत्रिकाका प्रधान सम्पादक श्रेष्ठको मृत्यु भयो। सोही दिन सोही टिपरको ठक्करबाट साँखुका २२ वर्षीय हरि खड्काको समेत ज्यान गयो। खड्काले चलाएको बा८२प ८३५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनको मृत्यु भएको हो। एकैपटक एउटा टिपरले दुई सवारी साधनलाई ठक्कर दिँदा दुवैजनाको मृत्यु भएको थियो। उक्त दुर्घटनामा २० वर्षीय पुनम श्रेष्ठ गम्भीर घाइते भए। यस्तै, गत माघ १४ गते काठमाडौँ महानगरपालिका-१५ स्वयम्भुस्थित चमतीमा ट्याङ्करको ठक्करबाट ५५ वर्षीय नरेन्द्रमुनि बज्राचार्यको मृत्यु भयो । प्रदेश ३–०१–००३ क ७५१२ नम्बरको ट्याङ्करले बा ८१ प १७८६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा उनको ज्यान गएको हो। यीमाथि उल्लेखित घटना प्रतिनिधिमूलक घटनामात्र हुन्। पछिल्लो समय काठमाडौँ उपत्यकाभित्र सवारी दुर्घटनाका कारण बर्सेनि सयौँ व्यक्तिले अकालमा ज्यान गुमाउँदै आएका छन्। आफूले ठीक ढङ्गबाट सवारी साधन चलाउँदा चलाउँदै पनि अर्को सवारी साधनका कारण अकालमा ज्यान गुमाउनुपरेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्षको हालसम्ममा काठमाडौँ उपत्यकाभित्र छ हजार आठ सय तीन सवारी साधन दुर्घटनाबाट एक सय २७ जनाको मृत्यु भएको छ । यस्तै, एक सय ५४ जना गम्भीर घाइते भएका छन् भने पाँच हजार एक सय २७ जना सामान्य घाइते भएका छन्। पछिल्लोे तीन वर्षको तथ्याङ्कअनुसार काठमाडौँ उपत्यकाभित्र सवारी साधन दुर्घटनाबाट चार सय ८४ जनाले ज्यान गुमाएका छन्। आव २०७७÷७८ मा नौ हजार पाँच सय ४५ सवारी साधन दुर्घटनाबाट एक सय ६६ जनाको मृत्यु भएको छ भने २२९ जना गम्भीर घाइते तथा सात हजार ९५ जना सामान्य घाइते भएका छन्। आव २०७८/७९ मा १० हजार सात सय ३३ सवारी साधन दुर्घटनामा परेर एक सय ९१ जनाको मृत्यु भएको छ भने दुई सय ५७ गम्भीर घाइते र आठ हजार दुई सय ८१ जना सामान्य घाइते भएका छन्। काठमाडौँ उपत्यकामा सवारी साधन दुर्घटनाको अवस्था कहालीलाग्दो छ । काठमाडौँ उपत्यकामा सवारी साधन दुर्घटनामा परी मृत्यु हुनेमा मोटरसाइकल चालक र पैदलयात्रु बढी छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्ट उपत्यकाभित्र हुने सवारी साधन दुर्घटनालाई कम गर्न ट्राफिक प्रहरीले विभिन्न कार्यक्रमलाई अगाडि सारेको बताउँछन्। “दुर्घटनालाई कम गर्न मादक पदार्थ सेवन (मापसे) जाँचमा कडाइ, तीव्र गतिलाई नियन्त्रण गर्न प्रतिघण्टा ५० किलोमिटरभन्दा बढीको गतीमा सवारी साधन चलाउन नपाइने नियम, सवारी साधनको स्थिती जाँच, लामो दूरीका सवारी साधनमा दुई चालक छन् या छैनलगायत विषयलाई विशेष निगरानी गर्दै आएका छौँ”, उनी भन्छन्। साँघुरो बाटो र धेरै सवारी साधन भएकाले बढी दुर्घटना हुने गरेको प्रवक्ता भट्टको भनाइ छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट काठमाडौँ उपत्यकाभित्रको सवारी व्यवस्थापनका लागि प्रहरी नायव महानिरीक्षकको नेतृत्वमा एक हजार सात सय ट्राफिक प्रहरी परिचालित छन्। लामो समयसम्म काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा काम गरेका पूर्व प्रहरी उपरीक्षक जगतमान श्रेष्ठ ९० प्रतिशतभन्दा बढी दुर्घटना मानवीय कारणले हुने गरेको बताउँछन्। “चालक, पैदलयात्रु र यात्रुका कारण धेरै दुर्घटना हुने गरेका छन्”, उनी भन्छन्। हाल देशभर ४० लाखभन्दा बढी सवारी साधन सञ्चालनमा छन्। तीमध्ये काठमाडौँ उपत्यकामा मात्र १८ लाखदेखि २० लाख सवारी साधन सञ्चालनमा छन्।
भक्तपुरमा योग गर्दै स्थानीय (तस्बिर) काठमाडौं । पतञ्जली योग समिति भक्तपुरद्वारा मध्यपुर थिमि–४ पाँच दिने बृहत् निःशुल्क योग विज्ञान शिविरको आयोजना गरेको छ । शुक्रबारदेखि सुरु भएको योग शिविरमा स्थानीयहरुको वाक्लो उपस्थिति रहेको छ ।
सञ्चारकर्मी कृष्णा ताम्राकारको निधन काठमाडौं । वरिष्ठ सञ्चारकर्मी कृष्णा ताम्राकारको ८६ वर्षको उमेरमा निधन भएको छ । रेडियो नेपालकी पूर्वसमाचार सम्पादक एवं समाचार वाचिका ताम्राकारको बासबारीस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा गए राति निधन भएको उहाँकी छोरी एवम् सञ्चारकर्मी गृष्मा राजभण्डारीले जानकारी दिए। विसं २०१८ मा रेडियो नेपाल प्रवेश गरेकी ताम्राकारले २०४९ सालसम्म रेडियो नेपालमा समाचार वाचनका साथै नासो, हाम्रो देशको माटो, हाम्रो वन हाम्रो जीवनलगायत कार्यक्रम सञ्चालन गरेकी थिइन् । पछिल्लो समय ताम्राकार पर्यटन क्षेत्रमा पनि सक्रिय थिइन् । ताम्राकार चराचुरुङ्गी संरक्षण तथा आँखा दान प्रोत्साहन अभियान सञ्चालन गरेर समाजसेवामा पनि समर्पित थिइन् । स्व ताम्राकारको केहीबेरपछि पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।
इस्लाम धर्मावलम्बीको पर्व रमजान आजदेखि सुरु काठमाडौं। इस्लाम धर्मावलम्बीको महान पर्व रमजान आजदेखि सुरु हुँदैछ। एक महिनासम्म चल्ने यो पर्वमा मुसलमान समुदाय दिनमा निराहार बस्छ। रोजा बस्न मुसलमान समुदायले उर्दू क्यालेण्डरअनुसार आज बिहान ४:१० बजेदेखि बेलुका ६:२० बजेसम्म निराहार (रोजा) बस्नुपर्छ। शरीरलाई चोखो राखेर मात्र रोजा बस्नुपर्छ। रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै समय तालिक पनि परिवर्तन भइरहन्छ। रोजा बस्न बिहान तोकिएको समय अगावै र बेलुका तोकिएको समयपछि आहार लिने गर्दछन्। रमजान उर्दू क्यालेण्डरअनुसार हिजरी सम्वत् १४४४ हो भने रमजान महिना नवौँ महिना हो। रमजान महिनामा नै मुसलमान समुदायको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास गरिन्छ। दान दिनु गरिब र दीन दुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो। रमजान महिना मुसलमानका लागि निकै महत्त्वपूर्ण एवं पवित्र हो र यसमा मुसलमानका पाँच आधार स्तम्भमा हज बाहेक सबै स्तम्भ पूरा हुने गर्दछ। त्याग, तपस्या र बलिदान सबै जोडिने यो पर्वमा मुसलमान समुदायले रोजा बस्नुलाई गर्व मान्दछ । नाबालक, बिरामी, घातक रोग लागेका र गर्भवतीलाई रोजा बस्न अनिवार्य छैन।
आजको मौसम: चार प्रदेशमा मेघ गर्जनसहित पानी पर्ने संभावना काठमाडौं। हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र देशका बाँकी पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ। उता राति भने गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र देशका बाँकी पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका साथै बाँकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा तराई भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन र चट्याङ तथा हावाहुरीबाट क्षति हुन नदिन आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
नेपाली सेनाको सङ्ख्या सरकारले निर्धारण गर्ने हो, स्वघोषित विज्ञहरूले होइन : प्रधानसेनापति शर्मा कास्की । प्रधानसेनापति प्रभुराम शर्माले नेपाललाई नेपाली सेना के कति चाहिन्छ भन्ने कुरा सरकारले निर्धारण गर्ने बताएका छन् । नेपाली सेना भूपू सम्मेलन– २०७९ को आज पश्चिम पृतना पोखरामा उद्घाटन गर्दै उनले नेपाली सेनाका बारेमा नचाहिँदो कुरा प्रचार हुने गरेको भन्दै आफ्नो कार्य र जिम्मेवारी पूरा गर्न नेपाली सेना के कति चाहिन्छ भन्ने कुरा सरकारले नै निर्धारण गर्ने हो भनेका हुन् । उनले भने, “यो कुनै आइएनजिओ/एनजिओमा बसेर आफैँ स्वघोषित प्राज्ञ, विज्ञ, सुरक्षाविज्ञ भन्नेहरूले भन्ने होइन, नेपाल सरकारको काम हो ।” प्रधानसेनापति शर्माले यस्ता अनर्गल र झुठा प्रचारबाट टाढा रहन पनि आग्रह गरे । उनले नेपाली सेनाले संविधानले तोकेको आफ्नो जिम्मेवारी प्रभावकारी तवरले निर्वाह गर्दै आएको पनि बताए । देशको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनता र राष्ट्रिय एकताको रक्षाका साथै विकास निर्माण, विश्व शान्ति स्थापना एवं देशमा आवश्यक परेका अन्य काममा लाग्नु नै सेनाले आफ्नो जिम्मेवारी ठानेको प्रधानसेनापति शर्माले बताए । प्रधानसेनापति शर्माले लामो सैनिक जीवनका दौरान सिकेको र स्मरण गरेको अनुशासन, मूल्य, मान्यता तथा ज्ञान, सीपहरूलाई आफ्नो बसोबास गरेको समाजमा प्रयोग गर्दै सदैव जनताको सेवामा लाग्न भूपू सैनिकहरूलाई आग्रह गरे । पूर्वसैनिक परिवारलाई सहयोग र स्वरोजगार गर्ने उद्देश्यले स्थापना भएको सैनिक कल्याणकारी कोषको अधिकतम उपयोग गरी आयमूलक स्वरोजगारमार्फत जीवनस्तर उकास्ने लक्ष्य लिइएको प्रधानसेनापति शर्माले बताए । सैनिक कल्याणकारी कोषमा हाल रु ७३ अर्ब, १३ करोड रकम रहेको र १० लाख हिताधिकारीलाई सो रकमको ब्याजबाट विभिन्न सहुलियत प्रदान गरिएको उनले जानकारी दिए । कार्यक्रममा ज्येष्ठ भूपू सैनिक ९२ वर्षीय गोमानसिंह कार्की र ज्येष्ठ एकल महिला ८९ वर्षीया मषिकलता थापा क्षेत्रीलाई सम्मान गरिएको थियो । यसैगरी लघु उद्यम व्यवसायीहरुलाई सम्मान तथा पुरस्कार वितरण, उद्यमी व्यवसायीहरूलाई महिला उद्यमशीलता कर्जाको चेक हस्तान्तरण गरिएको थियो । कार्यक्रममा भूपू सैनिकहरूबाट मार्चपास, जिल्लागतरूपमा भूपू सैनिकहरू तथा एकल महिलाहरूको मार्चपास, स्थान विशेषका झाँकीहरूको प्रदर्शन, खुकुरी ड्रिल, तेक्वान्दो, पिटी तथा मार्चपास र विभिन्न संस्कृतिहरूको प्रदर्शनी गरिएको थियो ।
चितवनमा रक्तदाता घटेपछि बढ्दैछ रगतको अभाव चितवन। रक्तदाताका रूपमा रहेका युवा वर्ग रोजगार तथा अध्ययनका सिलसिलामा जिल्ला बाहिर जाँदा चितवनमा रगतको चरम अभाव हुन थालेको छ । अठार देखि ६० वर्ष उमेर समूहले रक्तदान गर्न सक्ने भए पनि ४० वर्षसम्म रक्तदान गर्ने उपयुक्त उमेर मानिन्छ । सोही उमेर समूहका व्यक्ति काम तथा अध्ययनका लागि बाहिरिँदा रगतको अभाव हुन थालेको हो । यहाँ रक्तसञ्चार केन्द्रले रगत सङ्कलनका लागि शिविर सञ्चालन गर्दै आएको छ । नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका सभापति हरि पौडेलले युवा जनशक्ति पलायन हुँदा रगतको अभाव बढ्दै गएको बताए । विगतमा एउटा शिविरमा ७० देखि एक सय युनिट रगत सङ्कलन हुने गरेकामा हाल ३० देखि ५० युनिट मात्र सङ्कलन हुने गरेको छ । उनका अनुसार कतिपय शिविरमा १०–१५ युनिट मात्रै रगत सङ्कलन हुने गर्दछ । कुनै दिन चार वटा शिविरबाट रगत सङ्कलन गर्दा समेत एक सय युनिट पुर्‍याउन मुस्किल हुने पौडेलको भनाइ छ । “एक वर्षमा तीन सयसम्म रक्तदान कार्यक्रम सञ्चालन हुने गरेको छ । दश जोड दुई पढेर अध्ययनका लागि बाहिर गएको जनशक्ति तथा रोजगारीका लागि बाहिरिने युवा मुख्य रक्तदाता हुन्”, उनले भने । यो जनशक्ति बाहिरिँदा रगतको अभाव भएको हो । यहाँ क्यान्सरका बिरामी, दुर्घटनाका घाइते, शल्यक्रियामार्फत् गरिने प्रसूति र अन्य उपचारमा रगत धेरै माग हुने गर्दछ । दैनिक चितवन र छिमेकी जिल्लाबाट उपचारका लागि आउने बिरामीका आफन्त रगतको खोजीमा भौतारिन बाध्य छन् । क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार चैतदेखि साउनसम्म गर्मीको मौसममा रगतको अभाव बढ्ने गरेको छ । दैनिक एक सय ५० युनिटको हाराहारी रगतको माग हुने गर्दछ । यहाँ सञ्चालन हुने शिविरमा ७५ युनिट मात्रै रगत सङ्कलन हुने गरेको छ । बाँकी अपुग रगत बिरामीका आफन्तले आफन्त, इष्टमित्र, छरछिमेकी, स्वयंसेवी रक्तदाता र विगतमा रक्तदान गरेकाहरुको खोजी गरी व्यवस्थापन गर्दै आएका छन् । केन्द्रले चितवनसहित छिमेकी जिल्लामा रक्तदान कार्यक्रम गरेर रगत सङ्कलन गर्ने गरेको छ । गत आर्थिक वर्षमा ती जिल्लाबाट मात्रै शिविरमार्फत् तीन हजार युनिट रगत सङ्कलन गरिएको थियो । पोखराबाट प्रशोधन गरिएको दुई हजार पाँच सय युनिट रगत ल्याएर बिरामीलाई चढाइएको थियो । कलेजो प्रत्यारोपण गर्न रगत अभाव भएपछि बिरामीका आफन्तले काठमाडौँबाट दुई सय ५० युनिट रगत यहाँ झिकाएका थिए । रगत सङ्कलनका लागि चितवनबाट सर्लाहीसम्म पुग्नु परेको सभापति पौडेलको भनाइ छ । उनले व्यापकरूपमा रक्तदानसम्बन्धी जनचेतना कार्यक्रम आवश्यक रहेको समेत बताए । खेर जाने रगतले कसैको ज्यान बच्छ भन्ने सन्देश प्रवाह गर्नुपर्ने उनको भनाइ छ । जिल्लामा वार्षिक ५० हजार युनिट हाराहारी रगतको माग हुने गरेकोमा ६० प्रतिशत मात्रै सङ्कलन हुने गरेको पौडेलले बताए । उनका अनुसार रक्तदातालाई उत्प्रेरित गर्न स्थानीय तहले रक्तदान कार्यक्रममा सहयोग गर्दै आएका छन् । जिल्लामा सङ्घीयस्तरको दुई ठूला अस्पताल, दुई मेडिकल कलेज, २० निजी अस्पताल सञ्चालनमा छन् ।
दुवै मिर्गौला फेल भएर आमाको मृत्यु भएपछि चार बालबालिकाको बिचल्ली मुगु  । निन्याउरो मलिन अनुहार, रुखको हाँगामा फैलिएका पात जस्तै कपाल । न घर, न बार । पानी चुहिने छानो भएको घरमा  न खाना छ, न नाना नै, न त ओत लाग्ने ठाउँ,  न ओढ्ने–ओछ्याउने कपडा नै ।  यो दृश्य हो, मुगुको छायाँनाथ रारा नगरपालिका– १३ रुघा गाउँको।  दुवै मिर्गौला फेल भएर लक्ष्मी रावतको मृत्यु भएपछि उनको परिवार बिचल्ली मा परेको छ । सात महिनाकै बालकले आमा गुमाएको मात्र छैन, चार जना बालबालिका पनि बिचल्लीमा परेका छन्। गत माघको अन्तिम तिर आमा लक्ष्मी रावतको दुवै मिर्गौला फेल भएर मृत्यु भएपछि उनका दुई छोरा र दुई छोरी बिचल्लीमा परेका हुन्। आमाको मृत्युपछि दुधे बालकको अवस्थाले जोकोहीको मन भक्कानिएर आउँछ। आमा लक्ष्मी रावतको मृत्यु भएपछि ७ महिने दुधे बालकसहित अन्य तीनजना बालबालिका सहाराको पर्खाइमा छन् । लक्ष्मीकी आमा बाँचकला बोहोराको घरमा बालबालिकाले आश्रय लिँदै आएका महिला स्वास्थ्य स्वयंसेविका हरिकन्या नेपालीले जानकारी दिइन् । उनका अनुसार सात महिना र ८ वर्षका छोरा र ६ र ४ वर्षकी छोरी छन्। खेतपातीले ६ महिनासमेत खान नपुग्ने भएपछि लक्ष्मीका पति २७ वर्षीय  सुरत रावत मजदुरी गर्छन्। ती बालबालिकाको सहारा भनेका बुबा  सुरत र नाताले हजुर आमा पर्ने बाँचकला हुन्। तर, सुरत मजदुरी गर्न जाने भएकाले सबै जिम्मेवारी बाँचकलाकै काँधमा आइपरेको छ। ‘अब त यी टुहुराहरुको पालनपोषण कसले गर्देला ? हामी बुढा बुढी डाँडामाथिका घाम भइसक्यौँ,’ ६० वर्षीया बाँचकलाले भनिन्। लक्ष्मीको मृत्युपछि सात महिने बालक बिरामी परेकाले घरमै थला परेको उनले बताइन्। आर्थिक अवस्था कमजोर भएकाले बालबालिकाको पालनपोषण गर्न छिमेकहरुले संकलन गरेर दिएको ३५ हजार रुपैयाँले खर्च गरेको बाँचकलाले बताइन्। तर, उक्त रकम पनि सकिएकाले अब कसरी बालबालिकाको पालनपोषण र शिक्षादीक्षा दिने भन्नेमा बाँचकला र उनका ज्वाइँ तथा लक्ष्मीका पति सुरत चिन्तित् छन्। घरमा खान अन्नमात्रको अभाव होइन, बासका लागि सुरक्षित छानासहितको घरसमेत नरहेकाले बालबालिकाको स्वास्थ्यमा समेत असर गर्न थालेको स्थानीय बताउँछन् । राज्यले शिक्षा, स्वास्थ्य, गाँसबास नभएकालाई हेरविचार गर्नुपर्नेमा वडा र नगरपालिकाले अहिलेसम्म चासो नदिएको हजुुरआमा बाँचकलाको गुनासो छ।
नेपाली पात्रो र तोयनाथ पात्रो बीच सहकार्य, ‘नेपाली पात्रो’ पञ्चाङ्ग अब अझै शुद्ध र स्पष्ट काठमाडौँ। विगत १४ वर्ष देखि विश्वभर छरिएर रहेका नेपालीहरुबीच लोकप्रिय, नेपालको पहिलो कम्यूनिटी एप ‘नेपाली पात्रो’ र झण्डै डेढ शताब्दीदेखि पञ्चाङ्ग मार्फत सेवा गर्दै आएको नेपालको पहिलो आधिकारिक सर्वाधिक बिषयले सुसज्जित राष्ट्रिय पञ्चाङ्ग बीच सहकार्यका लागि सम्झौता भएको छ। तोयनाथ पञ्चाङ्ग विगत १३५ बर्षदेखि नेपालमा निरन्तर प्रकाशित हुँदै आएको सर्वाधिक विश्वासिलो पञ्चाङ्ग तथा सजिलो क्यालेण्डर हो। प्रविधिको विकास सँगै एण्ड्रोइड तथा आइफोन जस्ता स्मार्टफोनमा नेपाली प्रयोगकर्ताहरुले खोज्ने प्रमाणित पञ्चाङ्ग साइत, लग्न, चाडबाड तथा तिथी मितीको विश्वस्नीय छापा संस्करण तोयनाथ पञ्चाङ्ग र नेपालीद्वारा नेपालीकै लागि तयार पारिएको मोबाइल एप्लिकेशन ‘नेपाली पात्रो’बीच सहकार्य भएको हो। “झण्डै डेढ शताब्दीदेखि निरन्तर वैदिक सनातन पञ्चाङ्गबारे ज्ञान र जानकारी समेटी नेपाली समाजलाई हाम्रो जरोकिलोको महत्व बुझाउन सफल तोयनाथ पञ्चाङ्गसंग विश्वभर छरिएर रहेका नेपाली सनातन पुस्तालाई ‘नेपाली पात्रो’ मार्फत् जोडने सौभाग्य प्राप्त भएकोमा उत्साहित छु। पुरानो पुस्ताको सटिक पञ्चाङ्ग गणितसंग आधूनिक पुस्ता जोडिन पाउनु आफैमा अद्भूत अनुभव हो। शताब्दीअघि वहाँहरुसंग उपलब्ध साधन, स्रोत तथा अध्ययनबाट हरेक दिनको सूर्योदय र सूर्यास्त होस या यो दिन यति गते, यति बजेबाट सूर्य अथवा चन्द्र ग्रहण यो स्थानबाट देखिनेछ भन्ने पूर्वानुमानको सटिक नतिजा निकाल्ने हाम्रो आफ्नै मौलिक वैदिक सनातन विज्ञान कति अद्भूत छ भन्ने पुष्टि पनि गर्छ। यो सहकार्यले हाम्रो प्रयोगकर्तालाई क्यालेण्डरमा उपलब्ध शुद्ध र आधिकारिक जानकारीले लाभ दिनेछ।” नेपाली पात्रोका प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार देवकोटाले बताए।
अवैध लागुऔषधसहित ५ जना पक्राउ काठमाडौँ। देशका  विभिन्‍न स्थानबाट लागुऔषधसहित पाँचजना पक्राउ परेका छन्। झापाकाे मेचीनगर नगरपालिका-६ मेचीपुलबाट अवैध लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ ४ ग्रामसहित भारत घर भएका ३४ वर्षीय ताहिर हुसैनलाई प्रहरीले पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो। कैलालीकाे भजनी नगरपालिका-५ मिलनपुरबाट अवैध लागुऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ३ ग्राम ५ मिलिग्रामसहित घोडाघोडी नगरपालिका-८ बस्ने २१ वर्षीय लक्ष्मण शाहीलाई प्रहरीले पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले से.२ प ८५७१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकल चालक शाहीलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो। नवलपरासी (पूर्व)काे कावासोती नगरपालिका-१६ चालिस किलो जंगलस्थित सडकबाट नियन्त्रित लागूऔषध डाईजेपाम ४३ एम्पुल, नुर्फिन ४३ एम्पुल र फेनारगन ४३ एम्पुलसहित कास्की पोखरा महानगरपालिका-३१ बस्ने ३० वर्षीय बिकास गुरुङसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) बाट खटिएको प्रहरीले ना.७ ख २७४१ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो। सुनसरीकाे धरान उपमहानगरपालिका-४ आँपगाछीस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ३ सय केजी बिहीबार बिहान प्रहरीले बरामद गरेको छ। ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उक्त स्थानमा जिजे ०१ एचक्यू २४६१ नम्बरको स्कारपियो गाडी रोकी राखेको अवस्थामा फेला पारी शंका लागि गाडी जाँच गर्दा झोलामा प्याक गरी राखेको अवस्थामा उक्त परिमाणको लागुऔषध फेला पारेको हो । प्रहरीले हाल फरार व्यक्तिहरूको खोजी गरिरहेको छ।
जुवातास खेलेकाे आराेपमा दुई भारतीयसहित १६ जना पक्राउ भक्तपुर। भक्तपुरको मध्यपुर थिमि नगरपालका- १ लौहकिन्थलीस्थित मझेरी क्याफेबाट १६ जना जुवातास खेलेकाे आराेपमा पक्राउ परेका छन्। उनीहरुको साथबाट १६ बुक तास र ३ लाख बढी नगदसमेत बरामद गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक बसन्त पाठकले जानकारी दिए। पक्राउ परेकाहरुमध्ये १३ जना ४० वर्षभन्दा कम उमेर समूहका रहेका छन् । सिन्धुपाल्चोकको चौतारा सागाचोक गढीका- ३९ वर्षीय दिलिप गिरीले संचालन गरेको क्याफेबाट पक्राउ परेका उनीहरुमध्ये दुईजना भने भारतीय नागरिक रहेको समेत खुल्न आएको छ।
भूपू सैनिक सम्मेलन पश्चिम पृतना पोखरामा सुरु पोखरा । नेपाली सेना पश्चिम पृतना मातहतका सात जिल्लामा स्थायी बसोबास गर्ने भूतपूर्व सैनिकका लागि लक्षित गरी आयोजना भएको भूतपूर्व सैनिक सम्मेलन सुरु भएको छ । प्रधानसेनापति प्रभुराम शर्माले पोखरा फूलबारी ब्यारेकमा आज उद्घाटन गर्नुभएको सम्मेलनमा मनाङ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङमा स्थायी बसोबास गर्ने तीन हजार आठ सय ९४ भूपू सैनिकको सहभागीता छ । नेपाली सैनिक कल्याणकारी बोर्डको स्थापना भएसँगै निरन्तररुपमा विभिन्न क्षेत्रमा सेनाले भूपू सैनिक सम्मेलन गर्दैआएको छ । हाल निवृत्तिभरणमा राजीनामा स्वीकृति भएका भूपू सैनिकको सङ्ख्या ८१ हजार छ सय ४३ रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । पारिवारिक निवृत्तिभरण उपभोग गर्नेको सङ्ख्या १५ हजार आठ सय ७२ समेत गरी कूल निवृत्तिभरण उपभोग गर्नेको सङ्ख्या ९७ हजार पाँच सय १५ जना रहेको छ । सम्मेलनमा भूपू सैनिकका प्रतिनिधिद्वारा मार्च, झाँकी प्रदर्शन, राष्ट्रिय गीतमा सामूहिक नृत्य, पिटी र सैनिक ब्याण्ड प्रदर्शन, ज्येष्ठ सैनिक सम्मान, ‘ह्वील चियर’ तथा बैसाखी वितरण, चारभन्दा बढी सन्ततिलाई सेनामा प्रवेश गराउने आमा/बाबुलाई सम्मान, शताब्दी पुरुष÷महिला सम्मान र अन्तक्र्रिया तथा छलफल हुनेछ । अवकाश प्राप्त सैनिक एवं पारिवारिक निवृत्तिभरणमा रहेका व्यक्तिप्रति लक्षित सम्मेलनले विभिन्न दर्जा, नियुक्ति, युनिट र स्थानमा तैनाथ रही योगदान पु¥याएका पूर्वसैनिकको पुनर्मिलनको ठूलो अवसर प्रदान गरेको छ । सम्मेलनबाट सैनिक नेतृत्वले विभिन्न स्थानमा पुगेर पूर्वसैनिक एवं तिनका परिवारसँग अन्तक्र्रिया गर्ने हुँदा सेनाले आफ्ना हिताधिकारीको कल्याणका लागि गरिरहेका प्रयासको मूल्याङ्कन तथा भावी योजना तर्जुमा गर्न महत्वपूर्ण सुझाव प्राप्त हुनेछ । सेना, सैनिक नेतृत्व र हिताधिकारीबीच आत्मीयता, भरोसा एवं विश्वास वृद्धि हुने यस्तो जमघटबाट सम्पूर्ण हिताधिकारीको सामाजिक प्रतिष्ठा र आत्मसम्मानसमेत वृद्धि हुने सेनाले अपेक्षा गरेको छ । सेनाको नं ३ बाहिनी अड्डा, खैरेनीटार, तनहुँमा शुक्रबार गोरखा, लमजुङ र तनहुँमा स्थायी बसोबास गर्ने भूपू सैनिकको सम्मेलन हुनेछ । उक्त सम्मेलनमा ११ हजार तीन सय १७ सहभागी हुने जानकारी दिइएको छ । पूर्वसैनिकमा देश तथा संस्थाप्रतिको आस्था र भरोसालाई सम्मान गर्ने उद्देश्य रहेको सम्मेलन उनीहरुले राष्ट्रसेवामा पु¥याएको योगदानको कदर गर्ने अवसरका रुपमा रहने गरेको छ ।
सामुदायिक वनका अध्यक्ष थारुसहित आठ जना पक्राउ नेपालगञ्ज। बाँकेको राप्तीसोनारी गाउँपालिका–५ विनौनास्थित सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष भोला थारुसहित आठजनालाई प्रहरीले पक्राउ गरेको छ। घाटगद्दीमा रहेको करिब रु ५२ लाख बराबरको सामुदायिक वनको काठ हिनामिना गरेको स्थानीयले उजुरी गरेपछि उनीहरुलाई पक्राउ गरिएको हो। जिल्ला वन कार्यालय, बाँकेका सहायक वन अधिकृत गणेश खड्काका अनुसार सयम भवानी सामुदायिक वन उपभोक्ता समितिका सचिव आरती वैश्य, कोषाध्यक्ष मैयासरी थारु, सदस्य कमला केसी, मानबहादुर विक, रामकली थारु, खडगबहादुर ओली र शिवकुमारी थारुलाई वन कार्यालयको हिरासतमा राखिएको छ। आठै जनामाथि घाटगद्दीमा राखेको काठ, दाउरा हिनामिना गरेको अभियोगमा मुद्दा चलाइने भएको छ। “काठ, दाउरा बेचेको हिसाब पनि छैन । खातामा समेत पैसा देखिँदैन”, अधिकृत खड्काले भने। साल, अस्ना, कर्मा, जामुन, शिरिषलगायत जातका काठका गोलिया बेचबिखन गरेको वन कार्यालयले जनाएको छ। उनीहरुलाई जिल्ला अदालत, बाँकेबाट अनुमति लिएर प्रहरीले पक्राउ गरी वन कार्यालयलाई बुझाएको हो।
काभ्रेपलाञ्चोकमा नागरिकताभन्दा राहदानी बनाउने बढी धुलिखेल। काभ्रेपलाञ्चोकमा नागरिकभन्दा राहदानी बनाउनेको सङ्ख्या बढी रहेको छ। जिल्ला प्रशासन कार्यालयको पछिल्लो तीन महिनाको तथ्याङ्कअनुसार नागरिकताभन्दा राहदानी लिने सेवाग्राहीको सङ्ख्या बढी देखिएको हो। दिनहुँ राहदानी बनाउने सेवाग्राहीको सङ्ख्या धेरै रहेको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए। जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कअनुसार गत फागुनमा सात सय २८ जनाले नागरिकता लिएका थिए भने दुई हजार दुई सय ८९ जनाले राहदानी लिएका थिए। यसैगरी राष्ट्रिय परिचयपत्रका लागि करिब दुई हजार चार सय जनाले फोटो खिचाएका छन्। यस्तै गत माघमा राहदानी लिनेको सङ्ख्या एक हजार चार सय ७९ जना रहेकामा नागरिकता बनाउने एक हजार ९० जना रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। यसैगरी प्रतिलिपि नागरिकता छ सय १३ जनाले र राष्ट्रिय परिचयपत्र दुई सय हजार ८१ जनाले लिएका छन्। गत पुसमा सात सय ६० जनाले नागरिकता बनाएकामा राहदानी लिने एक हजार तीन सय ७१ जना छन्। राष्ट्रिय परिचय पत्रका लागि दुई हजार १६ जनाले फोटो खिचाएका छन्। जिल्ला प्रशासनले टाइम कार्ड र टोकनको सुरुआत गरेसँगै सेवा प्राप्तिमा सहज भएको सेवाग्राहीले बताएका छन्। बिदाका दिनसमेत कार्यालयभित्र अनलाइन फारम भरेर राहदानी वितरण गरिरहेको प्रजिअ पौडलले बताए।
प्रावि शिक्षकका लागि खुल्यो विज्ञापन काठमाडौं। शिक्षक सेवा आयोगले प्राथमिक तहका शिक्षक पदपूर्तिका लागि विज्ञापन खुलाएको छ। आयोगले आज प्रावि तहमा विज्ञापन खुलाएको हो। आयोगले एक सूचना जारी गर्दै चैत ८ गतेको निर्णय अनुसार आजदेखि दरखास्त पेस गर्न सकिने जनाएको छ।
आजको मौसमः कोशी, बाग्मती र गण्डकीमा मेघगर्जनसहित वर्षाकाे संभावना काठमाडौं। हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू(भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आँशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू(भागका थोरै स्थानहरूमा र देशका बाँकी भू(भागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक रहल्का वर्षाको सम्भावना रहेको छ। राति भने देशको पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको पहाडी भू(भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका साथै बाँकी प्रदेशका पहाडी भू(भागका थोरै स्थानहरूमा तथा तराई भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन र चट्याङ तथा हावाहुरीबाट क्षति हुन नदिन आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
दृष्टि पाएपछि वृद्धवृद्धा दङ्ग, चिकित्सकसँगै गीत गाएर नाचे गलेश्वर। म्याग्दीको बेनीका ८४ वर्षीय दलबहादुर खड्का जीवनमै सबैभन्दा बढी खुसी छन्। विगत पाँच वर्षदेखि मधुरो देख्ने तर कुनै व्यक्ति र वस्तुलाई चिन्न नसक्ने खड्का बेनीमा आज सम्पन्न तीन दिने निःशुल्क शिविरमा शल्यक्रिया गरेपछि स्पष्टसँग आँखा देख्नसक्ने भएका हुन्। जिल्लाको बेनी नगरपालिका–२ खबराका खड्काले शल्यक्रियापश्चात स्पष्ट आँखा देख्ने भएपछि चिकित्सकसँग गीत गाएर नाच्दै खुसी व्यक्त गरे। चिकित्सकले आँखाको शल्यक्रिया गरेपछि स्पष्टरूपमा आँखा देख्ने भएको खड्काले बताए। त्यसैगरी बेनी–९ घतानका डिलबहादुर विकले दुवै आँखा देख्न छाडेको एक वर्ष भएको थियो। बेनीमा निःशुल्क आँखा उपचार शिविरमा ७७ वर्षीय विकको दुवै आँखाको मोतियाविन्दुको शल्यक्रियापछि आँखा देखेपछि खुसी हुँदै चिकित्सककै अघि नाचेर रमाइलो गरे। खड्का र विकजस्तै ८२ जना वृद्धवृद्धा आज शल्यक्रियापछि आँखाले संसार हेर्न पाउँदा दङ्ग परेका छन्। बेनी अस्पतालमा चैत ५ गतेदेखि सञ्चालन भएको शिविरमा ८२ जना मोतियाविन्दुको शल्यक्रिया गरिएको नेत्रज्योति सङ्घ म्याग्दीका सभापति अमरबहादुर बानियाँले बताए। “धेरै मोतियाविन्दु वृद्धवृद्धामा देखिएको छ, मोतियाविन्दु भेटिएका सबैको शल्यक्रिया गरिएको छ” उनले भने। नेत्रज्योति सङ्घ म्याग्दीको आयोजना, हिमालय आँखा अस्पताल पोखराको प्राविधिक र माइकल बाउर एण्ड फ्रेण्ड, बाँडेन बाँडेन जर्मनीको आर्थिक सहयोगमा सम्पन्न शिविरबाट आठ सय ६९ जनाको आँखाको परीक्षण गरिएको नेपाल नेत्रज्योति सङ्घ म्याग्दीका अध्यक्ष बानियाँले जानकारी दिए। गाउँगाउँमा नेत्रज्योति सङ्घले आयोजना गरेको शिविरबाट भेटिएका मोतियाविन्दुको शल्यक्रिया पनि बेनीमा सञ्चालित शिविरमा गरिएको उनको भनाइ थियो। बेनी–५ की ७० वर्षीया पार्वती बानियाँले देख्न छाडेको तीन वर्ष भए पनि मोतियाविन्दुको शल्यक्रिया गरेका थिएनन्। “पोखरा जाने समय र पैसा नहुँदा मोतियाविन्दुको शल्यक्रिया गर्न सकेकी थिइनँ,” उनले भनिन्, “बेनीमा मोतियाविन्दुको शिविर सञ्चालन भएपछि गुमेको ज्योति सस्तोमा शल्यक्रिया गरेर फकिएँ।” यसअघि गत असोजमा १९ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको थियो। जिल्लामै शिविर सञ्चालन हुँदा शल्यक्रिया गर्न पोखरा जाने झन्झट अन्त्य भएको सङ्घका सचिव राजेन्द्र श्रेष्ठले बताए। “एकजनाको आँखाको शल्यक्रिया गर्न २० हजार रूपैयाँ र तीन दिन लाग्छ । शिविरले आर्थिक अवस्था कमजोर भएकालाई राहत दिएको छ,” उनले भने। धुँवा, धुलो, आँखाको सरसफाइ र चेतनाको कमीले मोतियाविन्दु र जलविन्दु हुने भएकाले धुँवा, धुलोबाट आँखालाई बचाई सरसफाइमा ध्यान दिनुपर्ने शिविरमा सहभागी चिकित्सकको सुझाव छ। शिविरमा हिमालय आँखा अस्पताल पोखरबाट छ जनासहित आठ जनाको प्राविधिक टोलीले आँखा परीक्षण र मोतियाविन्दुको शल्यक्रिया गरेको थियो। नेत्रज्योति सङ्घले शिविर सम्पन्न गराउन सहयोग गर्नुहुने प्राविधिक टोली र सहयोग दातालाई सम्मान गरेको छ। स्थानीय तहसँग समन्वय गरेर वडास्तरमा सञ्चालन गरिएको शिविरमा दुई हजार दुई सयको नेत्र परीक्षण गरिएको अध्यक्ष बानियाँले जानकारी दिए। “गाउँमा पहिचान भएका मोतियाविन्दुका बिरामीलाई पोखराबाट चिकित्सक ल्याएर बेनीमा निःशुल्क शल्यक्रियाको व्यवस्था मिलाएका हौँ,” उनले भने। रघुगङ्गा गाउँपालिकाको पाखापानी, मङ्गलाको कुहुँ, बेनी नगरपालिकाको डाँडाखेत, अन्नपूर्णको राम्चे, हिस्तान र शिखमा आँखा उपचार शिविर आयोजना गरेर मोतियाविन्दुका बिरामी पहिचान गरिएको थियो। हिमालयन आँखा अस्पताल पोखराका डा अञ्जु गुरुङको नेतृत्वमा शिविरका संयोजक सुवास नेपाल, अस्पतालका मीना राई, साधना मजाकोटी, गरिमा लौडारीलगायत स्वास्थ्यकर्मीले उपचार गरेका थिए।
घुस लिएको अभियोगमा वैदेशिक रोजगार विभागका सुब्बाविरुद्ध मुद्दा दर्ता काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागका नायब सुब्बा प्रमोद पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । आयोगले बुधबार विशेष अदालत काठमाडौंमा पाण्डेविरुद्ध ३० हजार घुस लिएको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । उनले वैदेशिक रोजगार कसुरमा मिलापत्र पश्चात रोक्का भएको बैंक खाता सूचारु गर्नका लागि सेवाग्राहीसँग तीस हजार घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनको आधारमा छानिबन हुँदा उनले उक्त रकम लिएको पुष्टि भएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए । उनलाई नियन्त्रणमा लिएर आयोगले छानबिन गरेको थियो ।
५० हजार घुससहित वडाअध्यक्ष र सचिव पक्राउ काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवासबाट खटिएको टोलीले जिल्ला धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष अर्जुनकुमार चौधरी र वडा सचिव माधवकुमार रायलाई ५० हजार रुपियाँ घुस लिएको अभियोगमा पक्राउ गरेको छ। जग्गा दर्ता गर्ने सर्जमिन मुचुल्काको रोहबरमा दस्तखत गर्न सेवाग्राहीसँग घुस–रिसवत लिएको अख्तियारले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। आयोगका प्रवक्ता भोला दाहालका अनुसार, अध्यक्ष र वडा सचिवले ५० हजार रुपियाँ घुस लिइसकेको अवस्थामा उनीहरूलाई उक्त रकमसहित जनकपुरधाम उपमहानगरपालिका ६, रामजानकी अस्पताल नजिकबाट केही बेरअघि नियन्त्रण लिइएको हो।
नेपाल डिजिटल युगतर्फ अघि बढिरहेको छः सञ्चारमन्त्री शर्मा काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल डिजिटल युगतर्फ अघि बढिरहेको बताएकी छन्। भारतको नयाँदिल्लीमा इन्टरनेशनल टेलिकम्युकेशन युनियन (आइटीयु)को क्षेत्रीय कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाललाई डिजिटल बनाउन सरकारले ‘डिजिटल नेपाल फ्रेमवर्क’ तयार गरी कार्यान्वयनमा लागेको बताइन्। सीमित क्षमताका कारण डिजिटल फ्रेमवर्क कार्यान्वयनलाई गति दिन समस्या भइरहेको उल्लेख गर्दै मन्त्री शर्माले भनिन्, “मलाई विश्वास छ, आइटियुको क्षेत्रीय कार्यालय स्थापनाले नेपालको क्षमतामा देखिएको ‘ग्याम’ कम गर्न सहयोग गर्नेछ।” क्षेत्रीय कार्यालय स्थापना भएसँगै सदस्य राष्ट्रमाझ तथा सहयोग आदानप्रदानमा मद्दत पुग्ने मन्त्री शर्माको विश्वास थियो। उनले दक्षिण एशियामा आइटीयुबाट प्राविधिक सहयोग, सूचना र सञ्चार प्रविधिमा नीति निर्देशनहरू कार्यान्वयन गर्न क्षेत्रीय डिजिटल संलग्नताबाट पनि फाइदा लिन सकिने विश्वास व्यक्त गरिन्। मन्त्री शर्माले भनिन्, “द्विपक्षीय र बहुपक्षीय छलफल र ज्ञान आदानप्रदानलाई प्रोत्साहन गर्न आइटीयुका सदस्य राष्ट्रहरूबीचको भविष्यमा सहयोगका लागि आधार बन्नेछ, यस फोरमले कम विकसित देशहरू (एलडिसीएस), साना टापु विकासशील देशहरु (एसआइडिएस) लगायत भूपरिवेष्ठित विकासशील देशहरू (एलएलडिसिएस)का दूरसञ्चार र आइसीटिका आवश्यकता पूरा गर्न प्राथमिकता दिनेछ।” सन् २०१८ मा दुबईमा भएको ‘आइटीयुपिपी’ सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले क्षेत्रीय कार्यालयको परिकल्पना गरेको स्मरण गर्दै मन्त्री शर्माले नयाँ कार्यालयको स्थापनाले क्षेत्रीय उपस्थितिको अपर्याप्ततालाई पूरा गर्ने विश्वास व्यक्त गरिन्। दिगो विकासका लागि विकसित प्रविधि प्रयोग गर्दैै कार्यक्रम र परियोजना सञ्चालन गर्न र आइटीयु सदस्य राष्ट्रहरूलाई नजिक ल्याउन मद्दत गर्ने उनको भनाइ छ। नयाँदिल्लीमा आइटीयुको क्षेत्रीय कार्यालयको स्थापनाले आइटियु विशेषज्ञता भएका सदस्य राष्ट्रको क्षमता निर्माणका लागि कोसेढुङ्गा सावित हुने बताउँदै मन्त्री शर्माले विद्यमान डिजिटल विभाजनलाई कम गर्ने विश्वास व्यक्त गरिन्। आइटियुले प्राविधिक सहयोगलाई मात्र सुदृढ नगरी क्षेत्रीय दूरसञ्चार विकासलाई पनि बढावा दिने र त्यसबाहेक, डिजिटल रूपान्तरणलाई पनि गति दिने उनको भनाइ छ।
को बन्ला नेपाल प्रहरीको भाबी आईजीपी? काठमाडौं। नेपाल प्रहरीमा ३० औं आईजीपीको दाबी गर्ने पाँच जना एआईजीहरु पछिल्लो कार्यक्षमतामा सबै अब्बल देखिएका छन्। खास ठूलो विवादमा नआएका र पाँचै जना आफ्नो कार्य क्षेत्रमा अब्बल नै रहेका छन्। विगतमा जस्तो गम्भीर विवादमा नपरेका डिआईजीहरू एआईजी सिफारिस मात्रै भएनन् उनीहरुले बुधबार एआईजीको दज्र्यानी चिन्ह समेत लगाए। दज्र्यानीचिन्ह लगाएपछि वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दिपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेर आफूहरु सबै आइजीपी हुन सक्षम रहेको बताएका थिए। प्रहरीमा ३० वर्षे सेवावधिको प्रावधान हेरफेर नहुने करिब निश्चित जस्तै भएको अवस्थामा ११ चैतबाट उनीहरु मध्ये एक जनाले प्रहरी संगठनको कमान्ड सम्हाल्नेछन्। पहिलो नम्बरमा बढुवा भएकाले कुँवर आईजीपीका बलिया दाबेदार मानिन्छन्। यसअघि डिआईजी बढुवामा १३ नम्बरबाट १ नम्बरमा फड्को मार्नुले उनलाई सहज भएको छ। उनी पछिल्लो पटक मधेश प्रदेशमा खटिएका थिए। डिआईजीमा बढुवा हुनुअघि अपराध अनुसन्धान कार्यालयको प्रमुख रहेका कुँवर एआईजी बढुवामा पनि १ नम्बरमै रहन सफल भए। कुँवर व्यावसायिक प्रहरी अधिकृत मानिन्छन्। दोस्रो नम्बरमा राई पनि इमानदार छवि भएका अधिकृत हुन्। लामो समय विशेष ब्युरोमा बसेर उनले सशस्त्र हिंसा तथा संगठित अपराधको नियन्त्रणमा देशका लागि महत्वपूर्ण भूमिका निभाएका उनी कार्यक्षेत्रेमा सबल प्रहरी अधिकारी हुन। उनी लामो समय सादा पोशाकमा काम गरे। पछिल्लो पटक उनले लुम्बिनी प्रदेशको प्रमुख भएर काम गरे। तेस्रो नम्बरका दीपक थापा अर्का बलिया दाबेदार हुन्। एआइजी बढुवामा तेस्रो नम्बरमा परेकाले उनी पनि प्रहरीभित्र व्यावसायिक अधिकृत मानिए पनि चितवनमा एसपी हुँदा रहँदा रेणु दाहाललाई जिताउन र मतपत्र चपाउनेलाई कारबाही नगरेको आरोप उनीमाथि कायमै छ। यद्यपि पुष्पकमल दाहाल प्रधानमन्त्री भएकाले उनका लागि अहिले सहज अवस्था बनेको छ। लामो समय प्रबन्ध शाखामा काम गरेका थापालाई संगठनभित्रको आर्थिक कारोबारबारे जानकार मानिन्छ। पछिल्लो पटक उनी बाग्मती प्रदेशको प्रमुख थिए। चौथो नम्बरका श्यामलाल ज्ञवाली पनि अब्बल प्रहरी अधिकृत मानिन्छन्। उनी पनि अहिलेसम्म कुनै ठुलो विवादमा फसेका छैनन्। उनका दाजु ठाकुर ज्ञावाली आईजीपी भएर निस्किएका थिए। पछिल्लो पटक उनी कोशी प्रदेशमा कार्यरत थिए। योजना र अन्वेषणमा काम गरेका ज्ञावालीलाई प्रशासनिक काममा दक्ष मानिन्छ। पहिलो पटक महिलालाई आईजीपी बनाउने अवसर भएकै कारण पाँचौँ नम्बरमा बढुवा सिफारिस भएकी किरण बज्राचार्य आईजीपी पदकी एक प्रमुख हकदार हुन्। साथै, यस पटक आईजीपी नियुक्तिमा इतिहास कायम गर्ने अवसर सरकारलाई रहेको छ। यसअघि उत्कृष्ट पुरस्कारहरू पाएकी उनी क्षमतावान महिला अधिकृतका रूपमा चिनिन्छन्। उनी पनि प्रहरीमा इतिहास रच्ने दाउमा छिन्। सरकारले यसपटक उनलाई आइजीपीमा नियुक्ति गरेमा नेपाल प्रहरीकै इतिहासमा पहिलो महिला प्रहरी हुने अवसर प्राप्त गर्नेछिन्। उनले सिआइबीमा रहँदा महिला बेचविखनको र्याकेट भत्काउने काम गरेकी थिइन्।
अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्दै जनताकाे मुख थुन्ने अधिकार कसले दियो? काठमाडौं। मंगलबार एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने युवाहरुलाई प्रहरीले आवाज बन्द गराउन गरिएको हर्कतको चौतर्फी निन्दा भएको छ। प्रधानमन्त्री सहभागी कार्यक्रममा युवाहरुले गरेको नाराबाजी रोक्न प्रहरीले गरेको धरपकड र मुख थुनिएको दृष्य सामाजिक सञ्जालमा भाइरल भएको छ। मंगलबार नयाँ बानेश्वरमा भएको उक्त कार्यक्रममा सहभागी हुन गएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध केही युवाले ‘बैंकको ब्याज मिनाहा गर,’ ‘गरिबमारा प्रचण्ड मुर्दाबाद’ भन्दै नाराबाजी गरे पछि प्रहरीले युवाहरुको मुख थुनिदिएको थियो। प्रहरीको साे कार्यबारे चौतर्फी आलोचना भइरहेको छ। सरकारले जनताको आवाज बन्द गराउन थालेको भन्दै सर्वत्र आलोचना भइरहेको उक्त कार्यको बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा समेत सांसदले प्रश्न उठाएका छन्। उक्त घटनाबारे राष्ट्रिय सभामा एमालेकी सांसद विमला राई पौड्यालले प्रश्न उठाएकी छिन्। घटनाबारे सरकारको जवाफ माग्दै राष्ट्रिय सभाको बैठकमा सांसद पौड्यालले सामाजिक सञ्जालमा दुई युवाको मुख थुनिएको फोटो आएको भन्दै किन मुख थुनिएको? भन्दै प्रश्न गरेकी छिन्। प्रधानमन्त्री प्रचण्ड सहभागी अन्तराष्ट्रिय जातिय विेभद उन्मुलन दिवसको कार्यक्रममा केही युवाहरुले सरकारविरुद्ध नाराबाजी गर्दैगर्दा तीन जना युवालाई नियन्त्रणमा लिने क्रममा मुख थुनिदिएर श्वास फेर्न हम्मेहम्मे पारेको दृश्य भिडियोमा देख्न सकिन्छ। यस्तै उक्त घटनाबारे एमालेका नेता भीम रावलले पनि प्रश्न उठाएका छन्। उनले सामाजिक सञ्जालमार्फत प्रहरीले मुख थुनेर बोल्न नदिएको भन्दै आपत्ती जनाएका छन्। रावलले ट्विट गर्दै भनेका छन्,‘जनताको मुख थुन्ने तथा देश, विदेशलाई हेर्ने आफ्नै विवेकको आँखा थुन्ने तर दलाल पूँजीपति र वाह्य हस्तक्षेपकारीहरूलाई देश, संस्कृति र राज्यमा दाईँ गर्न खुला छोड्ने? यस्तो कुबुध्दि कसले सिकायो ?’ प्रहरीले केही समय अगडि वीर अस्पतालका चिकित्सकलाई समेत कुटपिट गरेको घटनाको ब्यापक आलोचना भएको थियो। चौतर्फी दबावपछि सोही घटनामा संलग्न प्रहरीलाई विभागीय कारबाही गर्दै केही समय अगाडिे निलम्बन गरेको थियो। पछिल्लो घटनामा संलग्न तीन युवालाई प्रहरीले अभद्र ब्यबहारको कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट तीन दिन म्याथ थप गरि प्रहरी हिरासतमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजाल बताउँछन्। प्रधानमन्त्री सहभागी कार्यक्रममा अशान्ति मच्चाउने प्रयत्न गरेकाले उनीहरुलाई पक्राउ गरिएको उनी बताउँछन्। उनी भन्छन्, ‘उनीहरुसँग असम्बन्धित कार्यक्रममा पुगेर नाराबाजी भएपछि नियन्त्रणमा लिनु प्रहरीको कर्तब्य हो तर मुख थुन्ने प्रहरीको नीतिगत निर्देशन होइन।’ उनका अनुसार पक्राउ गरिएका सोलुखुम्बुका उद्धव बस्नेत, बझाङका विप्लव खड्का र बागलुङका सोम शर्मा रहेका छन्। उनीहरुलाई थप अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अभद्र ब्यबहारको कसुरमा तीन दिनका लागि प्रहरी हिरासतमा राखिएको छ। नेपाल प्रहरीका प्रवक्ता डिआइजी पोषराज पोखरेलले प्रहरीको निर्देशन विपरित भएको उक्त घटनाबारे अनुसन्धान भइरहेको बताए। उनले प्रहरीले सुरक्षा संवेदनशिलतालाई मध्यनजर गर्दै तत्कालीन अवस्थामा स्वविवेकले उक्त कदम चालेको उनले जिकिर गरे। उनले डिसी नेपालसँग भने, ‘प्रहरीको नीतिगत निर्देशन होइन तत्कालीन परिस्थितिको उपज उक्त घटना घटेको हो । यस बारेमा हामीले थप अध्ययन गर्दैछौं।’ उनले प्रहरीको केन्द्रीय निर्देशन बमोजिम नभएको भन्दै क्षेत्राधिकार भन्दा बाहिर गएर उक्त घटना प्रहरी कर्मचारीबाट भएको स्वीकार गरे। उनले तत्कालीन अवस्थामा विशिष्ट ब्यक्तिको सुरक्षार्थ खटिएका प्रहरी कर्मचारीले परिस्थितिलाई नियन्त्रणमा लिन खोज्दा उक्त घटना घटेको बताए। उनले भने, ‘प्रहरी पनि यही समाजका उत्पादन हुन्। कमीकमजोरी हुन सक्छन्। उनीहरुले तत्कालनि परिस्थितिको मुकाबिला गर्ने क्रममा सो घटना घटेको हो।’ अब प्रहरीको नीतिगत निर्देशन विपरित भएको उक्त घटनामा संलग्नलाई प्रहरीले कारबाही गछ ? भन्ने डिसी नेपालको प्रश्नमा प्रवक्ता डिआइजी पोखरेलले भने,‘यस बारेमा अहिल्यै केही भन्न सकिन्न। घटनाको थप अनुसन्धान भइरहेको छ। तत्कालीन अवस्था र प्रधानमन्त्रीको सुरक्षालाई दृष्टिगत गर्दै घटेको सो घटनाको बारेमा थप अध्ययन गर्दैछौं।’ जिल्ला प्रहरी परिसर काठमााडौं अन्तर्गत खटिएका प्रहरी कर्मचारी भएकाले परिसरले नै यस बारेमा थप अनुसन्धान गरेर निर्णय गर्ने उनले बताए।
पाँहाचह्रे जात्रा अन्तर्गतको असन जात्रा मनाइयो काठमाडौं। नेवार समुदायको पाँहाचह्रे जात्रा अन्तर्गत बुधबार काठमाडौंको असन जात्रा धूमधामका साथ मनाइएको छ। हरेक वर्ष घोडेजात्राको भोलिपल्ट तीन अजिमा अर्थात् भद्रकाली अजिमा, कङकेश्वरी अजिमा र टेबहाल अजिमालाई आ आफ्नो ठाउँबाट बाजा गाजासहितको टोलीले खट जात्रा गरी असन पु¥याएर जात्रा मनाउने परम्परा छ। तीन ठाउँबाट आएका अजिमा असनमा भेला गराई एक आपसमा तीन फन्को घुमाइ एक अर्कालाई आदरसम्मान गरी आगो (चिलाख) साटासाट गरिन्छ। यही चिलाख साटासाट गर्ने परम्परालाई असनमा खट जुधाउने भन्ने प्रचलन रहिआएको हो। खट असन चोक पुगेपछि घरघरबाट चामलको रोटी अर्थात् चटामरी फाल्ने गरिन्छ जसलाई प्रसादको रूपमा लिइन्छ यसरी फालिएको चटामरी फेला पार्नेलाई शुभ हुने जनविश्वास रहिआएको छ। असनमा चिलाख साटासाट गरेपछि तीन वटै अजिमा आ–आफ्नो स्थानमा लगिन्छ र यस दिन काठमाडौंको भित्री सहरमा परिक्रमा गरी यो जात्रा मनाउने गरिन्छ। यसै अवसरमा काठमाडौंका विभिन्न स्थानमा अन्य देवीदेवताको खट जात्रा गरी पाँहाचह्रे पर्व मनाउने चलन छ।
वैदेशिक रोजगार विभागका नासु प्रमोद पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा दायर काठमाडौं। वैदेशिक रोजगार विभागका नायव सुब्बा प्रमोद पाण्डे ३० हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका छन्। वैदेशिक रोजगार कसुरमा मिलापत्रपश्चात रोक्का भएको बैंक खाता सुचारु गर्नका लागि सेवाग्राहीसँग ३० हजार रुपैया घुस लिएका नासु पाण्डेलाई पक्राउ गरिएको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ। घुस माग गरिरहेको भन्ने निवेदनको आधारमा अख्तियारको टोलील उनलाई नियन्त्रणमा लिएको हो। उनलाई घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको अख्तियार प्रवक्ता भोला दाहालले जानकारी दिए। पक्राउ परेका पाण्डेविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ख) बमोजिम कैद र विगो जरिवाना हुन मागदाबीसहित बुधबार बिशेष अदालतमा आरोपपत्र दायर गरिएको प्रवक्ता दाहालले जानकारी दिए।
बिभिन्न माग पुरा गर्नुपर्ने भन्दै किसान संघ महासंघको प्रदर्शन [भिडियो] काठमाडौं । किसानका बिभिन्न माग पुरा गर्नुपर्ने माग राख्दै विभिन्न ६ वटा कम्युनिष्ट पार्टी निकटका किसान संघ महासंघले काठमाडौंमा प्रदर्शन गरेका छन् । सत्तारुढ नेकपा माओवादी केन्द्रसहितका अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), नेकपा (एकीकृत समाजवादी) निकट अखिल नेपाल किसान महासंघलगायतका संगठन आवद्ध संयुक्त किसान संघर्ष समितिले काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले लघुवित्तको ज्यादती रोक्नु पर्ने , मीटरब्याजीका कारण कृषक पलायन हुनुपरेको भन्दै आक्रोश ब्यक्त गरेका छन् । रासायनिक मलखादको समस्यालाई तत्काल समाधान गर्नुपर्ने, सरकारसंग यसअघि भएको सहमति कार्यान्वयन गर्नुपर्ने लगाएतका मागका साथ राज्यलाई ध्यानाकर्षण गराउन सांकेतिक विरोध प्रदर्शन गरेको नेकपा एस निकट अखिल नेपाल किसान संगठनका अध्यक्ष बलराम बास्कोटाले बताएका छन् । उनीहरुले कृषिमा वैदेशिक लगानी हुन नहुने, भूमि बैंक खारेज गर्नु पर्ने लगायतका माग समेत राखेका छन् । शान्तिपूर्ण विरोधका कार्यक्रमबाट आफ्ना मागहरु सुनुवाई नभए सशक्त आन्दोलन गर्ने संघर्ष समितिको चेतावनी छ । हेर्नुहोस् भिडियो:
तिब्बतीयन नागरिकलाई नेपाली नागरिकता बनाइदिएको आरोपमा ५ जना पक्राउ काठमाडौं । तिब्बतीयन नागरिकलाई नेपाली नागरिकता बनाइदिएको आरोपसहित ५ जना पक्राउ परेका छन् । प्रहरीले उनीहरुलाई बुधबार बबरमहलबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा झापाको केचनाकवलका ४७ वर्षीय कृष्णबहादुर कटवाल, काठमाडौंको बबरमहलका ७० वर्षीय न्युल्केस श्रेष्ठ, मोरङको सुन्दर हरैँचाका ४९ वर्षीय हिरालाल सिवाकोटी, तनहुँको तिब्बतीयन शिविरमा बस्ने २५ वर्षीय लोब्साङ ठिन्ले र ललितपुरको गोदावरीका ३० वर्षीय विजय लामा रहेका छन्।
ठेक्का लिँदै अलपत्र पार्दै क्याराभान कन्स्ट्रक्सन सुर्खेत। भेरी करिडोरका आधा दर्जन पुलको ठेक्का लिएर अलपत्र पारिएको छ। क्याराभान कन्स्ट्रक्सनले जाजरकोट –डोल्पा सडकखण्डभित्र पर्ने भेरी नदीमा आधा दर्जन पुलहरु क्याराभान कन्स्ट्रक्सनका चन्द्र थकालीले लिएर अलपत्र पारेका हुन्। सडक विभागको पुल महाशाखाबाट ३६ महिना भित्र निर्माण गर्ने गरि भएका बोलपत्र गरिएको थियो। ठेक्का लिएको एक वर्ष बित्दा सम्मा काम नै सुरु गरिएको छैन। नलगाड नगरपालिकाको ताँसुगाड पुल, मैदेखोला, झुम्रेखोला र नलगाड नदीमा क्याराभान कन्स्ट्रक्सनले पुल निर्माण नगरेको हो। जाजरकोट डोल्पा र रुकुम पश्चिमको बीचमा रहेको त्रिबेणी स्थित भेरी नदिमो पुल समेत क्याराभान कन्स्ट्रक्सनलले लिएर ठेक्का बिक्री गरेको छ। दुई वर्ष सम्म ठेक्का होल्ड गरेर क्याराभान कन्स्ट्रक्सनले रेट्रो ट्रेक कन्स्ट्रक्सनलाई बिक्री गरेको छ। जगदुल्ला हाइड्राेपावर कम्पनी लिमिटेडले खोलेको १५ करोडको ठेक्का क्याराभान कन्स्ट्रक्सनले १४ करोड १७ लाखमा रेट्रो ट्रेक कन्स्ट्रक्सनलाई बिक्री गरेको थियो। सडक डिभिजन चौरजहारीलाई जिम्मेवारी नदिएर काठमाडौँबाटै खोलिएका यि ठेक्काहरु अहिले वर्ष दिन देखि अलपत्र परेका छन्। डिजाइन स्टामेट मन्त्रालयमा असोज देखि थन्किएको छ। क्याराभान कन्स्ट्रक्सनका प्रमुख चन्द्र थकालीले डिजाइन स्टामेट पास गर्न पुल महाशाखालाई ताकेता गरेर फिल्डमा आएर तत्काल काम गर्नुको साट्टो चुप लागेर बसेको आरोप लाग्दै आएको छ। अहिले केही  भेरी नदिका केही ठाउँमा कम भार बहन क्षमताका बेलिब्रज पुलहरु निर्माण गरेर यातायातका साधनहरु सञ्चालन भइरहेका छन्। त्यस्तै जाजरकोटको तल्लुबगर , डोल्पाको खदाङ र छलगाडमा समेत पक्की पुलको बोलपत्र भएर वाइपी एमआर जेभीले चितवनले ठेक्का पाएको थियो। २६ माघ २०७९ पुल महाशाखामा सम्झौता भइसकेको छ । सडक विभागको पुल महाशाखामा सम्झौता भएर अहिले डिजाइन स्टाम्याटको काम भइरहेको छ। यो कामको अनुगमण तथा मूल्याकंनको काम  पुल सेक्टर सुर्खेतले हुर्दै आएको छ। ६ महिना भित्र डिजाइन गरिसकेर पुलको भौतिक तर्फको काम सुरु गर्नुपर्ने रहेको छ। त्यस्तै डोल्पाको छलगाडमा समेत पक्की पुुल निर्माणका लागि ठेक्का भइसकेको छ। भेरी करिडोरअन्तर्गत जाजरकोटको पासागाड देखि डोल्पाको मरिमसम्म २३१.५ किलोमिटर लम्वाइ रहेको छ। भेरी करिडोरको जम्म लम्वाई ३१० किलोमिटर रहको छ । अहिले पासागाड –रिम्ना हुँदै तल्लु बगरसम्म पिचको काम सुरु भएको छ। यो सडक खण्डमा तोकिएको समयमा पुल निर्माणको काम नहुँदा वर्षेनी सास्ती हुँदै आएको छ। अहिले एकाध ठाउँमा बेलिब्रिज बाट भेरी नदीमा पुल निर्माण भएपछि कम भारबहन क्षमता भएका ट्रकहरु डोल्पाको सदरमुकाम दुनै पुग्ने गरेका छन्। सडक डिभिजन चौरजहारीले यस सडक खण्डमा पिचको काम गर्दै आएको छ। यति बिल्ड्रसले पिचको ठेक्का लिएको छ। ठूला भारबहन क्षमता भएका सवारीसाधन तथा बसहरू सञ्चालन हुनका लागि यससडक खण्डमा पक्की पुल निर्माण हुनु जरुरी रहेको छ।
रानी-जमरा-कुलरिया सिँचाइको काम आधा पनि भएन भजनी। आर्थिक वर्ष २०६८/६९ मा सुरु भएको राष्ट्रिय गौरव अन्तर्गतको आयोजना रानी जमरा कुलरिया सिँचाइको म्याद सकिन लाग्दा काम आधा पनि हुन सकेको छैन। निर्माण सुरु भएको एक दशकभन्दा बढी समय भइसक्दा पनि प्रगति भने न्यून अवस्थामा छ। कूल ३८ हजार तीन सय हेक्टरमा सिँचाइ सुविधा पु¥याउने उद्देश्यले सुरु भएको आयोजना निर्माणको म्याद आव २०८०/८१ मा सकिँदैछ । आयोजना विश्व बैंकको आर्थिक सहयोगमा निर्माण हुन लागेको हो। रानी, जमरा र कुलरिया गरी तीन खण्डमा काम भइरहेको आयोजनाको रानी र कुलरिया खण्डको कामको प्रगति सन्तोषजनक छैन। जमरा खण्डको कामले सुरुदेखि नै गति लिएको भए पनि रानी र कुलरिया क्षेत्रको कामबाट आयोजनाकै अधिकारी पनि सन्तुष्ट छैनन्। एउटै समयमा सुरु भएको कामको प्रगति हेर्दा रानीको १८ प्रतिशतमात्रै भएको छ भने कुलरिया खण्डमा २० प्रतिशत काम सम्पन्न भएको छ। सबैभन्दा बढी जमरा खण्डमा ६५ प्रतिशत काम सम्पन्न भएको आयोजनाका इञ्जिनियर प्रेम लासिवाको भनाइ छ। निर्माण कम्पनीको लापरबाहीका कारण काम सुस्त भएको आरोप लगाउँदै निर्धारित समयमा काम सम्पन्न नहुने उनको भनाइ छ। “सबै क्षेत्रमा एकैसाथ काम सुरु भएको हो, एउटा कम्पनीले ६५ प्रतिशत काम पूरा हुँदा दुई कम्पनीको कामको प्रगति ज्यादै न्यून छ”, उनले भने, “हामीले ताकेता गरिरहेका छौँ तर निर्माण कम्पनीले काम गर्न सकेको छैन।” आयोजनाको काममा लागि तीन वटा निर्माण कम्पनीले ठेक्का पाएका छन्। जसअन्तर्गत रानी कुलोको ठेक्का गौरीशङ्कर निर्माण सेवा र जिभिभी भारतीय कम्पनीले संयुक्तरूपमा लिएका छन्। साथै जमराको ठेक्का रामेछाप निर्माण सेवा र कान्छाराम निर्माण सेवाले पाएका छन् भने कुलरिया खण्डमा हाइहिमालय हाइड्रो कन्स्ट्रक्सन प्रालिले ठेक्का पाएको छ। दुई वर्ष कोरोना सङ्क्रमणको कारणले काममा ढिलासुस्ती भएको र अहिले आर्थिक मन्दीका कारण काम गर्न समस्या भएको निर्माण कम्पनीहरुको दाबी छ। रामेछाप निर्माण सेवाका साइट इन्चार्ज छिरिङ शेर्पाले आयोजनाको काम सम्पन्न हुनसक्ने स्थिति नदेखिएको स्वीकार गरे। “काम गर्दै आएका छौँ । सम्पन्न गर्नुपर्ने समय नजिकिँदै आएको छ। अझै करिब ३० प्रतिशतभनदा बढी काम बाँकी छ”, उनले भने, “काम गर्दै जाँदा आएका समस्याका कारण समयमा काम सक्न ढिलाइ भएको हो । कयौँ ठाउँमा डिजाइन नै परिवर्तन गर्दै काम गर्नुपर्ने स्थिति काम गर्दै जाँदा आयो।” कम्पनीले मरा कुलो क्षेत्रको संरचना निर्माणका लागि रू५४ करोडमा ठेक्का पाएको थियो। कुलरिया कुला क्षेत्रको कामको जिम्मा पाएको हाइहिमालय हाइड्रो कन्स्ट्रक्सनका साइट इन्चार्ज निर्भय रिसाल पनि सम्झौता म्यादभित्र काम सम्पन्न हुने सम्भावना नरहेको बताउँछन्। उनले काम ढिलो हुनुमा निर्माण कम्पनीको नभई आयोजना कार्यालयको दोष देखाए। “काम किन ढिलो भयो भनेर हामीलाई होइन, आयोजना कार्यालयलाई राम्रोसँग थाहा छ। हाम्रो कारणले काममा ढिलाइ भएको छैन”, उनले भने, “कामका बारेमा कति प्रगति निकै कम भएको छ। त्यसमा काम गर्ने वातावरण आयोजना कार्यालयले बनाउन नसकेकै कारण काम हुन नसकेको हो।” निर्माण व्यवसायीका कारण आयोजनाको काम धरापमा पर्ने चिन्ता रानी जमरा कुलरिया सिँचाइ प्रणाली जल उपभोक्ता मूल समितिको छ। समितिका अध्यक्ष कुमारराज शाहीले निर्माण कम्पनी जिम्मेवार नबन्दा आयोजनाको काम समयमा सम्पन्न हुनसक्ने अवस्था नरहेको स्पष्ट पारे। उनले आयोजनाले काम गर्न ताकेता गर्दा पनि ठेकेदार कम्पनीले आयोजनालाई नटेरेको आरोप लगाए। “ठेकेदारले काम गर्दैन, आयोजना कार्यालयको निर्देशनको कार्यान्वयन हुँदैन। किसानले मूल समितिलाई आरोप लगाउँछन्”, अध्यक्ष शाहीले भने, “समस्या किसानलाई भएको छ। समयमा कुलोमा पानी ल्याउन पाएको छैन। समयमा खेती गर्न पाएको छैन।” – रासस
बेनी बजारमा अव्यवस्थित तार हटाउन शुरु {भिडियो} म्याग्दी। म्याग्दीको बेनी बजारमा अव्यवस्थित तार हटाउन शुरु भएको छ । बेनी नगरपालिकाको ७ र ८ नम्बर वडामा पर्ने बेनी म्याग्दीको जिल्ला सदरमुकाम हो । बेनी नगरपालिकाले नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकम, केबुल र इन्टरनेट सेवा प्रदायक संस्थाहरुसँग समन्वय गरेर उपयोग विहिन, बजारको सौन्दर्यकरणमा असर गरेका र जोखिमयुक्त अव्वस्थित तार हटाउन थालिएको हो । विद्युतका पोलमा गुजुल्टा परेका तारका कारण विद्युतीय दुर्घटना, बजार व्यवस्थापनका साथै सौन्दर्यमा पनि असर परेको छ । जनप्रतिनिधि, नगर प्रहरी, विद्युत प्राधिकरण, टेलिकम र इन्टरनेट तथा केबुल सेवा प्रदायक कम्पनी तथा संस्थाका प्रतिनिधिहरुले प्रयोग विहिन तार पहिचान गरेर त्यसलाई पोलबाट निकाल्न थालेका हुन् । बर्षौ पुराना र काम नलाग्ने तारको गुजुल्टाले विद्युतका पोल फेटा गुटाएको जस्तो भएका छन् । जसका कारण विद्युत पोलमा भार बढेको छ । लत्रिएका तारमा सवारी साधन अल्झिने र पैदलयात्रुलाई आवत जावतमा समस्या भएको छ । प्रयोग हुन छाडेका तार नहटाउने तर नयाँ तार थपिने क्रम बढेपछि बजार अव्यवस्थित बनेको थियो । अव्यवस्थित तारका कारण विद्युत, टेलिफोन, केवुल, सडक वक्ति, सिसिटिभी र इन्टरनेट सेवा अवरुद्ध हुँदा मर्मतमा समस्या भएको बजारबासीले बताएका छन् । वाइट नवराज पौडेल, स्थानीयबासी, बेनी बजार म्याग्दीमा नेपाल टेलिकमका साथै दुई वटा केबल टिभी र पाँच वटा इन्टरनेट सेवा प्रदायकले बिद्युत प्राधिकरणको पोल प्रयोग गरेका छन् । हेर्नुहोस् भिडियो:
नर्भिक आइभिएफको चमत्कार, निसन्तान दम्पत्तिले पाए चम्ल्याहा काठमाडौँ। नर्भिक इन्टरनेशनल हस्पिटल अन्तर्गतको नर्भिक आइभिएफ सेन्टरमा उपचार गराएकी अरुणा सिंहले अष्ट्रेलियामा चम्ल्याहा सन्तानलाई जन्म दिएकी छन्। लामो समयदेखि सन्तान प्राप्तिका लागि संर्घष गरेका ४४ वर्षीया अरुणा र ४७ वर्षीय योगेश सन्तान प्राप्तिको योजनासहित उपचार गराउन अष्ट्रेलियादेखि नेपाल आएका थिए। अष्ट्रेलियामा स्थायी बसोबास गर्दै आएका उनीहरुले काठमाडौँस्थित नर्भिक आइभिएफमा उपचार सुरु गरे। चिकित्सकीय सहायक प्रजनन प्रविधिमार्फत उपचारपछि पहिलो प्रयासमा गर्भवती भएकी अरुणाले करिब १४ हप्तासम्म नर्भिक आइभिएफकी बरिष्ठ स्त्री रोग तथा टेष्टट्युव वेवी बिशेषज्ञ एवम् ल्याप्रोस्कोपिक सर्जन डा. नुतन शर्मासँग उपचार तथा परामर्श गराइन्। त्यहाँको सरकारले आफ्ना नागरिकलाई दिने चिकित्सकीय उपचार, सुविधा र सहयोगका कारण पनि अरुणा दम्पत्तिले अष्ट्रेलिया गएरै गर्भावस्थाको बाँकी परीक्षण र थप उपचार गर्ने निर्णय लिएर अष्ट्रेलिया गएका थिए। अष्ट्रेलियाको दक्षिण ब्रिस्बेनको मेटर मदर्स अस्पतालमा ४ जना सन्तानलाई जन्म दिएकी अरुणा र बच्चाहरुको स्वास्थ्य अवस्था सामान्य रहेको उनका श्रीमान योगेशले बताए। निर्धारित मिति भन्दा ११ हप्ता अगाडि जन्मिएका ३ छोरा र एक छोरीलाई अहिले अस्पतालले बिशेष निगरानीमा राखेर हेरचाह गरिरहेको छ। योगेशका अनुसार प्रि म्याचर्ड डेलिभरी भएकाले बच्चाहरुको तौल कम हुँदा अस्पतालले बिशेष निगरानी र हेरचाह गर्नुपरेको हो। एकैपटक चम्ल्याहा शिशु जन्मिएपछि यो विषयले अस्ट्रेलियामा पनि चर्चा पाएको छ। योसँगै नेपालको नर्भिक इन्टरनेशनल हस्पिटलको विश्वस्तरीय उपचार सेवाको समेत त्यहाँ प्रशंसा भइरहेको छ। अष्ट्रेलियामा महिलाहरुको जीवनशैलीबारे समाचार र लेख प्रकाशन गर्ने अग्रणी न्युज पोर्टल nine.com.au ले नेपालकी अरुणा सिंह र योगेशले अष्ट्रेलियामा जम्ल्याह सन्तान जन्माएको बिषयलाई रोचक ढंगले प्रस्तुत गर्दै ‘क्वीन्सल्याण्ड दम्पत्तिको चमत्कार, चम्ल्याहालाई स्वागत गरे, हामी छक्क पर्यौं’ भन्ने शीर्षकमा समाचार प्रकाशन गरेको छ। योेगेशलाई उद्धृत गर्दै उक्त अनलाइनले लेखेको छ–‘सुरुमा अस्पतालले हामीलाई तीन जना बच्चा भन्यो, पछि ४ जना भन्दा हामी अचम्म अनि छक्क पर्यौं । किनभने त्यो हाम्रा लागि अचम्म र अप्रत्यासित पनि थियो।’ उनीहरुले आफ्ना सन्तानको न्वरान पनि गरिकसेका छन्। तीन छोराको नाम क्रमश आर्ची, लुइस र एडी राखेका छन् भने छोरीको नाम अन्ना राखेका छन्। अष्ट्रेलियामा चम्ल्याह सन्तान जन्माउनुलाई दुर्लभ मानिन्छ। उक्त अनलाईनका अनुसार पछिल्लो ४ बर्षमा सो अस्पतालमा जन्मिने बच्चाहरुमध्ये चम्ल्याहा भएको यो पहिलो घटना हो ।
राष्ट्रपति पौडेल वनकाली क्षेत्रमा बृक्षरोपण कार्यक्रममा (तस्बिर) काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल बुधबार पशुपतिनाथस्थित वनकाली क्षेत्रमा बृक्षरोपण गरेका छन् । उनले उक्त स्थानमा नागचम्पा फूलको वृक्ष रोपण गरेका थिए ।
दैलेखमा ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु सुर्खेत। दैलेखको तालपोखरीमा मालबाहक मिनि ट्रक दुर्घटना ३ जनाको  घटनास्थलमै मृत्यु भएको छ। नेपालगञ्जबाट दैलेखतर्फ आउँदै गरेको मनकामना ग्यास सिलिन्डर बोकेको भे १ क २२०१ नम्बरको ट्रक आज विहान पौने ९ बजे दैलेखको गुराँस गाउँपालिका ३ ताल पोखरीमा दुर्घटना भएको दैलेख प्रहरीले जनाएको छ। दुर्घटनमा मृत्यु हुनेमा ३० वर्षीय चालक कृष्ण चौधरी, कामदारहरु २५ वर्षीय लक्षिराम चौचरी र २२ वर्षको विष्णु चौधरी रहेकाे जिल्ला प्रहरी कार्यालय दैलेखमा डीएसपी किशोर लम्सालले बताए। सहचालक प्रकाश कुमाई भने सकुशल रहेको प्रहरीले जनाएको छ। माथिल्लो मोडबाट तल्लो मोडमा खसेको ट्रकका कारण बाटो अवरुद्ध भएको प्रहरीले जनाएको छ।
झापामा बलेरोको ठक्करवाट ४० बर्षिया राईको मृत्यु झापा । झापामा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु भएको छ। कमल गाउँपालिका–५ निवासी ४० वर्षीय चन्द्रबहादुर राईको बलेर ठक्करवाट मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार  मंगलबार राति १० बजे पूर्व–पश्चिम राजमार्गअन्तर्गत सितापुरीमा मे १ ज १९४२ नम्बरको बोलेरो गाडीले ठक्कर दिँदा राईको मृत्यु भएको हो। सो दुर्घटना गरी फरार रहेका बोलेरो चालक इलाम नगरपालिका–२ निवासी ३२ वर्षीय पेम्बा तामाङलाई भने प्रहरीले बुधबार बिहान बिर्तामोडस्थित बसपार्कबाट नियन्त्रणमा लिएको छ। गाडीसहित पक्राउ परेका चालक तामाङलाई आवश्यक कारबाहीका प्रक्रिया अघि बढाईएको छ ।
खुम्बुमा लेक लागेर मृत्यु भएका पर्यटकको शव उद्धारमा अझै कठिनाई सोलुखम्बु। सोलुखुम्बुको खुम्बु क्षेत्रमा लेक लागेर मृत्यु भएका एक विदेशी पर्यटकको शव उद्धारमा कठिनाई भएको छ। बाक्लो हिमपात तथा प्रतिकुल मौसमका कारण सोमवार लेक लागेर मृत्यु भएका स्लोभाकियाका ६८ वर्षीय आर्क जान्को शव उद्धारमा कठिनाई भएको हो। खुम्बु पासाङल्हामु गाउँपालिका–४ गोरक्सेप क्षेत्रमा रहेको हिमालयन होटलमा सुतेकै अवस्थामा अक्सिजन अभावका कारण उनको मृत्यु भएको थियो। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी दिपक श्रेष्ठका अनुसार खुम्बु क्षेत्रमा लगातार हिमपात भइरहेकाले शव उद्धारमा समस्या भइरहेको छ। उनका अनुसार हिमपातका कारण सो क्षेत्रको सञ्चार सेवासमेत प्रभावित भएको छ । जसका कारण  शव उद्धारमा समस्या भएको छ। खुम्बु क्षेत्रमा हिमपात भईरहेको र मौसम सहज हुने बितिक्कै हेलिकोप्टर पठाएर उद्धार गरिने डीएसपी श्रेष्ठले बताए।
आजको मौसमः कोशी, बागमती र गण्डकी प्रदेशमा मेघगर्जनसहित वर्षाकाे संभावना काठमाडौं। हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको पनि प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक र हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। राति भने देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशको पहाडी भू-भागका एक दुई स्थानहरूमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागका केही स्थानहरूमा तथा तराई भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ र हावाहुरी रअसिना सहित क्षणिक र हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन र चट्याङ्ग तथा हावाहुरीबाट क्षति हुन नदिन आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
आदिवासी जनजातिले पहिचानको कुरा उठाउन थालेका छन् : मन्त्री किराती लालबन्दी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले अहिले आदिवासी जनजातिले पहिचानको कुरा उठान गरिरहेको बताएका छन् । ‘मातृभाषा, संस्कार, संस्कृतिको संरक्षण र संवर्द्धनको लागि हाम्रो अभियान’ भन्ने मूल नाराका साथ मङ्गलबार सर्लाहीको हरिवनमा आयोजित आदिवासी जनजाति युवा महासङ्घ, नेपालको आठौँ राष्ट्रिय सम्मेलनमा उनले भने, “४६ को जनआन्दोलनपछि ६२/६३ को आन्दोलनमा आदिवासी, जनजातिको दर्विलो उपस्थिति भए पनि यो वर्ग शोषित छ ।” नेपाली समाजको शल्यक्रिया गरिनु आजको आवश्यकक्ता भएको उल्लेख गर्दै उनले नेपाली संस्कृतिको मनोविज्ञानबाट अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरे । अब एकले अर्कालाई निषेध गरेर कोही पनि अगाडि बढ्न नसक्ने उनको भनाइ थियो ।
होण्डाको टेक्नीशियन स्कील कन्टेष्ट २०२३ भब्यताका साथ सम्पन्न काठमाडौं। होण्डाको होण्डा टेक्नीशियन स्कील कन्टेष्ट २०२३ भब्यताका साथ सम्पन्न भएको छ। होण्डाले आफ्नो डिलर नेटवर्कमा कार्यरत टेक्निसीयन हरुको सिप र दक्षता अभिवृद्धि गर्ने र बिक्री पछिको सर्भिसको सेवा स्तर उत्कृष्ट बनाउने उद्देश्यका साथ हरेक वर्ष टेक्निसीयन स्की कन्टेष्ट सञ्चालन गर्ने गरेको छ। स्याकार ट्रेडिङ्ग कम्पनी प्रा.लि. सर्भिस डिभिजनको अगुवाईमा विभिन्न ५ वटा क्षेत्रिय प्रतियोगिता सम्पन्न गरी प्रत्येक क्षेत्र वाट २\२ जना छनोट भई राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी भएका थिए र सो प्रतियोगिता होण्डाको ट्रेनिङ्ग सेन्टर ग्वार्को ललितपुरमा सम्पन्न भएको हो। प्रतियोगिता अवधि भर सहभागी टक्निशियन हरु होण्डाको नियम तथा अनुशासन पालना गर्दै होण्डा स्ट्याडर्ट प्रोसिडियूर अन्तर्गत रहेर प्रतियोगितामा सहभागी भएका थिए। यस अघि विभिन्न मितिमा क्षेत्रिय प्रतियोगिता सम्पन्न गरेको र जस अन्तर्गत काठमाडौं बाट २ जना, बिराटनगर बाट २ जना, जनकपुुर बाट २ जना, पोखरा बाट २ जना र भैरहवा बाट २ जना प्रतियोगि हरु छनोट भई आएका थिए। स्याकार ट्रेडिङ्ग कम्पनीले विगत देखि यस प्रकारको कार्यक्रम आयोजना गर्दै आएको छ। यस प्रकारको प्रतियोगिता बाट सहभागी टेक्निशियन हरुको कार्यदक्षता अभिबृद्धि हुनुको साथै आउँदो दिनमा अझै कार्यकुशलताका साथ अघि बढ्न उत्प्रेरणा मिल्ने विश्वास गरिएको छ। प्रतियोगितामा प्रथम द्वितिय तथा तृतिय हुने प्रतियोगीहरुले नगद तथा प्रमाण पत्र प्राप्त गरेका थिए जस अन्तर्गत प्रथम पुरस्कार बज्रअटो महराजगन्जका केशव गजुरेल, द्वितिय पुरस्कार एसटीसी पोखराका झलेन्द ईटानि र तृतिय पुरस्कार नौदेवी मोटर्स् बिराटनगरका बिनोद शर्माले प्राप्त गरेका थिए साथै अन्य सहभागी हरुले प्रमाण पत्र प्राप्त गरेका थिए। उक्त कार्यक्रममा विभिन्न अतिथी हरुको उपस्थीतीमा पुरस्कार तथा प्रमाणपत्र बितरण भएको थियो। नेपाल अटो मेकानिक्स ट्रेड युनियनका अध्यक्ष प्रदिप घिमीरे, नाडा नेपालका प्रकाश कपुरी लगायत स्याकार होण्डाका विभिन्न डिभिजन प्रमुख हरुको उपस्थीतीमा कार्यक्रम सम्पन्न भएको थियो। पुरस्कृत मेकानीकहरु तेश्रो हुनेले १५ हजार, दोश्रो हुनेले २० हजार र प्रथम हुने मेकानीकले ३० हजार नगद पुरस्कारका साथै प्रमाण पत्र प्राप्त गरेका थिए।
गुनासो बढ्दै गएपछि भीआईपी सवारी कार्यविधि परिमार्जनको तयारी काठमाडौं। राष्ट्रपतिको औपचारिक सवारीको बेला सर्वसाधारणले कष्ट भोगेको गुनासो बढ्दै गएपछि विशिष्ट पदाधिकारीहरूको सवारी कार्यविधि परिमार्जनको अन्तिम चरणमा पुगेको छ। गृहमन्त्रालयले विशिष्ट व्यक्तिको सुरक्षा कार्यविधि संशोधनलाई अन्तिम चरणमा पुर्‍याएको हो। गृहमन्त्रालयका प्रवक्ता एवं सहसचिव जितेन्द्र बस्नेतका अनुसार मन्त्रालयले कार्यविधिको काम अन्तिम चरणमा पुर्‍याएको हो। ‘गृह मन्त्रालयले ‘विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७’ को परिमार्जन मस्यौदा तयार गरिसकेको छ, यसलाई मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेपछि कार्यविधि कार्यान्वयनमा आउनेछ’, सहसचिव बस्नेतले भने। मन्त्रालयले कार्यविधि परिमार्जनका लागि सहसचिव बस्नेतको संयोजकत्वमा समिति गठन गरेको थियो। समितिले गत आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसँग समेत परामर्श गरेको बताइएको छ। मन्त्रालयले तयार पारेको कार्यविधिमा नेपाली सेनाका प्रतिनिधिहरुले पनि हेर्नुपर्ने भएकाले केही समयपछि मात्रै मन्त्रिपरिषदमा पठाइनेछ। अहिलेको कार्यविधिमा विशिष्ट व्यक्तिको सवारी विगतमा जस्तो सडक पूरै खाली गर्नुपर्ने खालको हुने छैन। समितिमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका आइजिपी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख र नेपाली सेनाको युद्धकार्य महानिर्देशनालयका प्रमुख रहने कानुनी व्यवस्था छ। आवश्यक सुझावपछि कार्यविधि मन्त्रिपरिषद् बैठकमा पेस हुनेछ। गृहका अनुसार कार्यविधिमा विशेषगरी विशिष्ट व्यक्तिको राजकीय, औपचारिक र कार्यालयीय सवारीलाई परिमार्जन गरिएको छ। परिमार्जित कार्यविधिअनुसार अब राजकीय, औपचारिक र कार्यलयीय सवारीमा सडक खाली गरिनेछैन। ‘पहिलाको भन्दा केही खुकुलो बनाइएको छ, आवश्यकता अनुसार कडा पनि बनाउने व्यवस्था कायमै राखिएको छ’, मन्त्रालय स्रोतले भन्यो। मंगलबार घोडेजात्राको अवसरमा सैनिक मञ्च टुँडिखेलमा भएको कार्यक्रममा सहभागी हुन आउँदा राष्ट्रपति रामचन्द्र पौडेलले सामान्य शैलीको सवारी प्रयोग गरेका छन्। गृह मन्त्रालयलेको विशिष्ट व्यक्ति सुरक्षा कार्यविधि, २०७७ अनुसार राष्ट्रपतिको औपचारिक समारोहको सवारीमा १६ वटा सवारीसाधन प्रयोग हुन्थ्यो। तर, मंगलबार भएको राष्ट्रपति पौडेलले एउटा अगुवा, पछुवा र जगेडा गाडी मात्रै प्रयोग गरे।
मधेसमा विभेदः ऐन छ, चैन छैन जनकपुरधाम। नेपालमा जातीय विभेद तथा छुवाछुत कानुनीरुपमा बर्जित छ। जनयुद्ध, २०६२\६३ सालको जनआन्दोलन, मधेस आन्दोलन र सामाजिक जागरणका अन्य अभियानको जगमा देश गणतन्त्र, धर्मनिरपेक्षता र समावेशी लोकतन्त्रमा प्रवेश गरेको छ। यति धेरै राजनीतिक उपलब्धिकाबीच पनि सामन्ती समाजमा विद्यमान जातीय विभेद तथा छुवाछुतका अवशेष अहिले पनि बाँकी नै छन्। देशलाई छुवाछुतमुक्त राष्ट्र घोषणा गरिएको १६ वर्षभन्दा बढी भएको छ। जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन, २०६८ ले यस्तो विभेदलाई गम्भीर सार्वजनिक अपराधका रुपमा हेरेको पनि एकदशक बितिसकेको छ। तर पनि जातीय भेदभाव तथा छुवाछुतका कारण हुने अमानवीय व्यवहार अहिले पनि रोकिएको छैन। अझ जातीय, भौगोलिक उत्पीडन र विभेद्को चर्को विरोध गर्दै समावेशीता र सङ्घीयताको सबैभन्दा बढी वकालत गर्ने मधेस प्रदेशमा नै जातीय विभेद तथा छुवाछूतका घटना डरलाग्दो रहेको सरोकारवालाको भनाइ छ। मधेस प्रदेश सरकारले २०७६ मङ्सिर २४ गते दलित सशक्तीकरण सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन कार्यान्वयनमा ल्याएको छ। सात प्रदेश सरकारमध्ये दलित सशक्तीकरणका लागि पहिलो पटक ऐन नै ल्याएर मधेस प्रदेश सरकारले गरेको कानुनी व्यवस्थाको सर्वत्र प्रशंसा भएको थियो। तर ऐन आएको तीन वर्ष बितिसक्दा पनि ‘जातीय भेदभाव तथा छुवाछुत पूर्णरुपमा अन्त्य गर्न…’ प्रस्तावनाले अठोट गरेको सङ्कल्पलाई पूरा गर्न तदनुरुपका क्रियाकलाप भने सुरु भएका छैनन्। सशक्तीकरणका लागि आवश्यक काम त हुँदै जालान् तर सांस्कृतिक एवं सामाजिकरुपमा जरा गाडेर बसको यो कुप्रथाविरुद्ध सार्वजनिक एवं सामाजिक जागरण ल्याउने कार्यमा पनि सरकारले ठोस कदम चाल्न सकेको छैन। त्यसैले अधिकारकर्मी भन्छन् ‘मधेसमा ऐन छ तर दलितलाई चैन (चयन) छैन।’ ऐनको परिच्छेद २ को दफा ३ ले व्यवस्था गरेको मुख्यमन्त्री नेतृत्वको जातीय भेदभाव तथा छुवाछुत अनुगमन समिति अहिलेसम्म बनेको छैन न त दफामा ५ ले भनेको स्थानीय जातीय भेदभाव तथा छुवाछुत अनुगमन समितिको ‘चेन’ स्थानीयस्तरसम्म जोडिएको छ। ऐन, कानुन र सार्वजनिक प्रतिबद्धताअनुरुप सामाजिक जागरणका क्रियाकलाप अगाडि नबढ्दा विभेदका घटनाहरु भइरहेका छन्। गएका तीन महिनामा भएका तीन घटनाले यहाँको जातीय विभेद तथा छुवाछुतबारेको बहसलाई फेरि नयाँ ढङ्गले अगाडि बढाउँदै राज्यबाटै हस्तक्षेपकारी भूमिका जरुरी रहेको सामाजिक अगुवाको बुझाइ छ। सिरहाको भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादवले यही फागुन २२ गते दिवङ्गत आमाको १३औँ दिनको पुण्यतिथिमा जातीय संरचनाअनुसार अलगअलग लाइन लगाएर भोज खुवाएको भनी सार्वजनिक भएको घटना अहिले पनि अनुसन्धानकै घेरामा छ। स्थानीय दलितले भने जातीय विभेद् तथा छुवाछुत हुने गरी व्यवहार गरिएको भन्दै विरोध जनाइरहेका छन्। देशका मन्त्री, पूर्वमन्त्री, सांसददेखि समाजका गन्यमान्य व्यक्ति सरिक त्यो भोजको घटनाबारे सबैको चासो छ। त्यसको एक हप्तापछि फागुन २९ गते पर्साको वीरगञ्ज महानगरपालिका–१७ अलौँका दलित सहायक प्रमुख जिल्ला अधिकारी वेदनिधि खनाललाई ज्ञापनपत्र बुझाए। ज्ञापनपत्रको विषय थियो २० वर्षपछि चैत ८ गते अर्थात् भोलिदेखि सुरु हुने शतचण्डी महायज्ञमा दलितले पनि प्रवेश गर्न पाउनुपर्छ। महायज्ञ तयारीका क्रममा टोलमा हुने दैनिक बैठकमा नबोलाएको र महायज्ञ व्यवस्थापनका लागि बनाइएका समितिमा पनि दलितलाई सहभागी नगराइएकाले अघोषितरुपमा महायज्ञमा प्रवेश निधेष गरिएको उनीहरुको भनाइ छ। यी दुई घटनाअघि दलितको घरमा भोज खाएको भन्दै महोत्तरीको सोनमा गाउँपालिका–४ खेसराहाका भिखारी महतोलाई सामाजिक बहिस्कार गरेको घटना सार्वजनिक भएको थियो। जुन घटनाले मधेसमा जातीय विभेदको चरम पराकाष्ठालाई उजागर गरेको छ। महतो गत पुस १९ गते स्थानीय शुभनारायण राम (चमार)को घरमा छठिहार अर्थात् न्वारनको दिन भोजमा सरिक भएका कारण आफ्नै समुदायबाट बहिस्कृत मात्रै होइन, ‘जातबाट निकालिएको’ भनिएको छ। यी जातीय विभेद तथा छुवाछुतका प्रतिनिधिमूलक घटना हुन्। दलित अधिकारका क्षेत्रमा काम गर्ने सङ्घसंस्थाका कुरा सुन्ने हो भने मधेसमा जातीय विभेद तथा छुवाछुतका घटनाको स्थिति डरलाग्दो छ। तर ती घटना राज्यका निकायको अभिलेख र कानुनको पहुँचमै आउँदैनन्। मधेस प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कअनुसार विगत तीन वर्षमा तीन वटा घटना मात्रै प्रहरीको अभिलेखमा आएका छन्। यसअनुसार आर्थिक वर्ष विसं २०७६\७७ मा महोत्तरी र सिरहामा गरी दुई र विसं २०७८\७९ मा धनुषामा एक घटना प्रहरीको अभिलेखमा आएको मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। इन्सेक मानवअधिकार वर्ष पुस्तक २०२३ मा उल्लेख भएअनुसार मधेसमा जातजातिका आधारमा दलित सबैभन्दा बढी पीडित छन्। सन् २०२२ मा मधेसमा राज्यपक्ष र अन्यपक्षबाट गरी एक हजार ५८७ दलित पीडित भएको उल्लेख छ। “हो घटनाको सङ्ख्यात्मक अभिलेख हेर्दा भेटिदैन तर समाजमा जातीय विभेद् तथा छुवाछुतको मानसिकता यसरी जरा गाडेर बसेको छ कि जसलाई शब्दमा व्यक्त गर्न सकिँदैन”, राष्ट्रिय मानवअधिकार आयोगका मधेस प्रदेश प्रमुख मञ्जु खतिवडाले भने, “मानव मर्यादा र सम्मानपूर्वक बाँच्न पाउने हकका हिसाबले हेर्दा अहिलेको आधुनिक समाजमा परम्परागत हानिकारक प्रथामध्येको जातीय विभेद तथा छुवाछुतको मानसिकताले पराकाष्ठा नाघेको छ ।” उनले छोराछोरी मरेको स्वीकार्ने तर अन्तरजातीय वा दलितसँगको सम्बन्धलाई नस्वीकार्ने सामाजिक परिवेशले यहाँको दर्दनाक अवस्थालाई दर्साउने बताए। “म आफैँले अन्तरजातीय विवाहपछिको विभेदका धेरै घटना हेरेकी छु, पीडक पक्षले सन्तानको ज्यान जाओस् केही वर्षमा बिर्सिन सकिएला तर जात जानु भएन भन्ने मानसिकताले काम गरेको पाउँछु, यो अहिलेको बदलिँदो समाजमा अत्यन्तै विडम्बनाको कुरा हो”, खतिवडाले भने। अभियन्ता अर्जुन थपलिया पनि व्यवस्था बदलिए पनि मानसकिता नबदलिएका कारण अहिले पनि वर्गीय, जातीय, लैङ्गिक र क्षेत्रीय आधारमा नेपाली समाजमा विभेद जीवित रहेको बताउँछन्। “संविधान, कानुन र ऐन छन् तर कार्यान्वयन हुँदैनन्। असन्तुलित सामाजिक शक्ति सन्तुलनको संरचनाले नै राज्यको उपस्थिति र भूमिकालाई पनि प्रभावित गरिरहेको छ। कमजोर वर्ग समाजमा अधिकारविहीन छन्”, थपलियाले भने, “व्यवस्था परिवर्तन भयो, मानिसको व्यवहारमा परिवर्तन हुन सकेन, न त सरोकारवालाले व्यवहार परिवर्तनका लागि हस्तक्षेपकारी अभियान चलाउन सक्यौँ। त्यसले मधेसमा मात्र होइन देशभरि नै विभेद कायम छ।” राजनीतिक विश्लेषक राजेश विद्रोहीले संविधानले देशलाई समाजवादोन्मुख भनेकाले सोहीअनुसार जातीय विभेदको अन्त्यलाई प्राथमिकतामा राखेर राज्यले नै ठोस् नीति अगाडि बढाउन जरुरी रहेको बताए। “जातीय विभेद नेपाली समाजमा यति धेरै जकडिएको छ कि यसबाट नेपाली समाजलाई मुक्त गर्न ठूलै सांस्कृतिक रूपान्तरणकारी अभियानको आवश्यकता छ। संविधान, नियम, कानुनले मात्रै छुवाछुत र जातीय भेदभाव निषेध गरेर हुँदैन रहेछ। त्यसको कार्यान्वयन र मान्छेको व्यवहार सुधार नै समस्या समाधानको उपाय हो। जुन किस्ताबन्दीमा भइरहेको छ तर हस्तक्षेपकारीरुपमा अगाडि बढेको छैन”, उनले भने। अधिकारकर्मी सञ्जय महरा पनि संविधान र कानुनले नै छुवाछुतलगायत सबै प्रकारका विभेदलाई सार्वजनिक अपराधका रुपमा स्वीकार्दै राज्यको भूमिकालाई बढाउने भने पनि व्यवहारमा त्यसको परिपालना नहुँदा विभेद अझै हट्न नसकेको बताउँछन्। नागरिक तहमा मात्रै होइन, वडामा निर्वाचित दलित जनप्रतिनिधिले पनि अपमानित महसुस गरिरहनु परेको छ। सप्तरीको सुरुङ्गा नगरपालिका–४ का वडा सदस्य मानुदेवी सदायले पनि संविधानले बाध्यकारी व्यवस्था गरेका कारण दलित महिलाको प्रतिनिधित्व सुनिश्चित गरिए पनि विभेदका हिसावले आफूहरु पीडित रहेको बताइन्। “मलाई नै स्थानीय मन्दिरभित्र प्रवेश गरी पूजापाठ गर्न दिइँदैन, सार्वजनिक समारोहमै उपेक्षा गरेको महसुस हुन्छ”, सदाय भन्छिन्। विभेदविरुद्ध सुधारका लागि केही पहल अवश्य भएको छ तर पनि बेलाबखत जातीय विभेद तथा छुवाछुतका घटना सार्वजनिक हुन्छन्। ती घटना न प्रहरीको अभिलेखमा देखिन्छन् न विभेद्मा परेकाहरु नै प्रहरी प्रशासनमा उजुरी गर्न जान्छन्। मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पनि सङ्घीयताअनुसार प्रदेश संरचना बने पनि अधिकार प्रयोगका हिसाबले अपराध नियन्त्रणको मुख्य जिम्मा भएको प्रहरी प्रशासन नै मातहतमा नहुँदा समस्या भएको बताए। “विभेद वा अन्य घटना हामीले पत्रपत्रिकाबाट थाहा पाउँछौँ तर प्रहरीले जानकारी दिँदैन। दर्ता अभिलेख नै हेर्ने हो भने पनि कुनै विवरण भेटिदैन। यो त राज्यवादी मुद्दा हो नि, यसमा त व्यक्तिले मुद्दा हाल्नै पर्दैन, प्रहरी प्रशासनले ‘प्रोएक्टिभ’ रुपमा आफैँ मुद्दा चलाउनसक्छ, जुन भइरहेको छैन”, मुख्यमन्त्री यादवको भनाइ छ। उनले पहिलेको तुलनामा जातीय भेदभाव तथा छुवाछुतका घटनामा धेरै कमी भए पनि अझ बढी सामाजिक सचेतनाको आवश्यकता रहेको बताए। “सुधार हुँदैछ तर एउटा मात्रै घटना हुनु पनि लज्जाको विषय हो। अपराध नियन्त्रणका लागि सरकार नै गम्भीर हुनुपर्ने आवश्यकता छ”, मुख्यमन्त्री यादवले भने, “कारबाही गर्ने अधिकार केन्द्रीय संरचनाअन्तर्गतको प्रहरीसँगै भएकाले हामीले कठिनाइ भोगिरहेका छौँ। गम्भीरतापूर्वक यस विषयमा छलफल हुन्छ, दलित सशक्तीकरण ऐन कार्यान्वयन गर्न म लाग्छु।” उनले जातीय भेदभाव तथा छुवाछुतका विषयमा जिल्ला समन्वय समितिसहित स्थानीय पालिका प्रमुखलाई राखेर आठै जिल्लामा अभियानकै रुपमा सचेतीकरणका कार्यक्रम अगाडि बढाउन आफूले योजना बनाइरहेको बताए। मधेस प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री शत्रुधनप्रसाद सिंहले पनि सरकारले अभियानकै रुपमा जातीय विभेद तथा छुवाछुतविरुद्ध गतिविधि अगाडि बढाउनुपर्ने बताए। उनले मुख्यमन्त्रीसँग छलफल गरी सामाजिक जागरण र प्रहरी प्रशासनले बढाउनुपर्ने भूमिकाका विषयमा आवश्यक कदम चाल्न आफ्नो भूमिका रहने धारणा राखे। “विभेद्विरुद्ध निर्ममतापूर्वक अगाडि बढ्नुपर्ने आवश्यकता छ। विभेद्कै विरुद्धमा लडेर सङ्घीयता र समावेशीता स्थापित गरेको यो प्रदेशमा आन्तरिक विभेद र उत्पीडिन रहन दिनुहुन्न भन्ने कुरामा म प्रष्ट छु। अरु साथीहरुले पनि यसलाई प्राथमिकताका साथ अगाडि बढाउनुपर्छ”, मन्त्री सिंहले भने। मानवअधिकार आयोगका प्रमुख खतिवडाले पनि मधेसमा रहेको जातीय, लैङ्गिक तथा अन्य विभेदका विषयमा निर्मम समीक्षा र सुझबुझपूर्ण हस्तक्षपको आवश्यकता औँल्याए। उनले यो मुद्दामा काम गर्ने सरकारी तथा गैरसरकारी सङ्घसंस्थाको भूमिका, लगानी र योगदानमाथि नै प्रश्न उठिरहेकाले अब परियोजनामा आधारित गतिविधिभन्दा रुपान्तरणकारी सामाजिक अभियान जरुरी रहेको बताए। “प्रदेश सरकारले छोरी पठाउँ, छोरी बचाउँ कार्यक्रमलाई अभियानकै रुपमा अगाडि बढायो तर दलित सशक्तीकरण ऐन आउँदा पनि देखिने गरी कुनै अभियान चलाएको पाइएन। अब परियोजनाले बजेट खर्च गर्नकै लागि अभियान गर्ने, राज्यले उजुरी पर्खेर बस्ने, प्रदेश तथा स्थानीय तहले अरुलाई देखाएर पहलकदमी नलिने अवस्था रहनुहुँदैन”, खतिवडाले भने। मानवताविरुद्ध हुने सबै प्रकारका जातीय तथा रङ्गभेदलाई अन्त्य गर्न संयुक्त राष्ट्रसङ्घले सन् १९६५ मा विभेद उन्मूलनसम्बन्धी महासन्धि पारित गरेपछि नेपाल सन् १९७१ देखि त्यसको पक्ष राष्ट्र हो। त्यही कारण सन् १९६६ देखि हरेक वर्ष मार्च २१ लाई अन्तर्राष्ट्रिय दिवसकैरुपमा मनाउने गरिएको छ। मङ्गलबार ५८औँ जातीय विभेद तथा रङ्गभेद उन्मूलन दिवस मनाइँदैछ। यही दिवसका अवसरमा दलित मात्रै होइन, गैरदलितसहितको समन्वय, संवाद र समझदारी बनाउँदै सबै प्रकारका जातीय भेद्भाव तथा छुवाछुतविरुद्ध लड्ने प्रतिबद्धता जरुरी छ।
राष्ट्रपतिको प्रमुख आतिथ्यमा टुँडिखेलमा घोडेजात्रा सम्पन्न काठमाडौं। राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलामा आयोजित यस वर्षको घोडेजात्रा कार्यक्रम सम्पन्न भएको छ। त्यस अवसरमा घोडा दौडका अतिरिक्त विविध अश्वकलाले भरिपूर्ण रोचक कार्यक्रम प्रस्तुत गरियो। समारोहमा राष्ट्रपति पौडेलले म्युजिकल राइड र शो–जम्प खेलमा प्रथम र द्वितीय हुने प्रतियोगीलाई पुरस्कार प्रदान गरे। शो–जम्पतर्फ सहसेनानी राजेश श्रेष्ठ प्रथम तथा सिपाही रामशरण न्यौपाने द्वितीय भए भने म्युजिकल राइडतर्फ सहसेनानी रोजिना महत प्रथम र सहसेनानी सफलता श्रेष्ठले द्वितीय पुरस्कार प्राप्त गरिन्। यसअघि राष्ट्रपति पौडेलले त्यहाँस्थित सैनिक स्मारकमा पुष्पहार अर्पण गरे भने नेपाली सेनाको टुकडीले उनलाई राष्ट्रपति सलामी प्रदान गरेको थियो। समारोहमा ब्यानर प्रदर्शनी गर्नुका साथै अश्वकलाअन्तर्गत टाँगन र चार्जर घोडा दौड, शो जम्प, क्याभलरी ड्रिल राइड र डग शो, घोडचढी आर्चरी, महिला सवार सिक्सवार, म्युजिकल राइड, हङ्गेरियन पोष्टवारलगायतका विविध रोमाञ्चक कला प्रदर्शन गरिएको थियो। घोडेजात्रा अत्यन्तै पुरानो अनि सामाजिक जात्राका रूपमा प्राचीनकालदेखिनै काठमाडौँ उपत्यकामा मनाइँदै आइएको परम्परा हो। परापूर्वकालमा गुरुमापा नामक दैत्यमाथिको विजयका रूपमा घोडेजात्रा मनाउने गरिँदै आएको छ। कार्यक्रममा घोडेजात्राको इतिहास गुरुमापाको कथा नामक गीती नाटक प्रस्तुत गरियो। यहाँ दौडने घोडाको टापले त्यस दानवको आत्मालाई दबाउन मद्दत गर्नुका साथै जात्राले देशमा सुमङ्गल ल्याउने जनविश्वास छ। चैत्र कृष्णपक्षको औँसीका दिन काठमाडाँैको टुँडिखेलमा हजारौँ सर्वसाधारणका बीच सेना र प्रहरीले घोडेजात्रा विशेष परेड, कृत्य अनि अभ्यास प्रदर्शन गर्ने पुरानै चलन हो। घोडेजात्राको दिन बिहानै नेपाली सेनाले जुद्ध सडकस्थित रेवन्त पीठमा बोकाको बलि दिएर जात्रा सुरु भएको जनाउ दिने गर्छ। वैदिक सनातन संस्कारमा पनि सबैभन्दा पुण्य प्राप्त हुने महान यज्ञ नै ‘अश्वमेध यज्ञ’ हो, जसमा सैयौँका सङ्ख्यामा घोडालाई स्वतन्त्र गरिन्छ र ती घोडा जहाँ–जहाँ सम्म पुग्दछन् त्यहाँ शान्ति, सौहार्दता र आनन्द रहने विश्वास गरिन्छ। सेनाले अत्यन्त बफादार अनि वेग समान कुद्न सक्ने घोडाको सम्मान अनि सहकार्यमा टुँडिखेलमा घोडेजात्रा मनाउँदै आएको छ। घोडालाई मानिसको दैनिक जीवन र ठूला युद्धमा समेत प्रयोग गरिँदै आएको छ। हिमाली क्षेत्रमा अझै पनि प्रमुख यातायातको साधनका रूपमा घोडाको प्रयोग हँुदै आएको छ। टुँडिखेलमा आयोजित समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र मन्त्रिगणलगायत विशिष्ट महानुभाव उपस्थित थिए। संवैधानिक निकायका प्रमुख, सरकारका उच्च पदस्थ अधिकृत, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि पनि घोडेजात्रा हेर्न टुँडिखेल पुगेका थिए। समारोहमा सहभागी विशिष्ट पाहुनाहरूलाई प्रधानसेनापति प्रभुराम शर्माले स्वागत गरेका थिए। घोडेजात्रामा प्रयोग हुने ६६ वटा घोडामध्ये बग्गीका १०, दौडसहित अश्वकलाका लागि ४६ र दौड विशेषका लागि १० पोनी घोडा रहेको निर्देशनालयले जनाएको छ। उक्त समारोह हेर्न टुँडिखेल वरपर नरनारीको बाक्लो उपस्थिति थियो भने नेपाल टेलिभिजनलगायतका विद्युतीय सञ्चारमाध्यमले प्रत्यक्ष प्रसारण गरेका थिए। घोडे जात्राका अवसरमा टुँडिखेलभित्र घोडाका ठूला–ठूला आकृतिसहितका फ्लेक्स बोर्ड राखिएको थियो।
पुरुषलाई महिला यात्रुको रूपमा बोकेपछि नेपाल एयरलाइन्सका पाइलटसहित सात जना निलम्बनमा काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपाल एयरलाइन्सका चालक दलका तीन सदस्यसहित सात कर्मचारीलाई निलम्बन गरेको छ। ताप्लेजुङबाट काठमाडौं आएको नेपाल एयरलाइन्सको विमानमा लोड सिट क्षमताभन्दा १०५ केजी बढी सामान बोकेको पाइएपछि प्राधिकरणले अर्को सूचना जारी नभएसम्म निलम्बन गरेको हो। सोमबार ताप्लेजुङबाट काठमाडौं आएको ट्विनअटर ९ एन–एबीटी विमानमा लोड सिटमा भन्दा १०५ केजी बढी सामान बाकेको थियो। उक्त सूचना पाएपछि चालक दलका तीनजना, निगमको मार्केटिङ कर्मचारी र डिसप्याचरसहित सात जनालाई ग्राउन्डेड गरिएको निगमका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए। उक्त विमानले एक पुरुष यात्रुलाई महिला यात्रुको रूपमा यात्रा गराएको पनि पाइएको निरौलाले बताइएको छ।
अयोध्या र रेसुङ्गाको सम्बन्ध विस्तार गर्न शन्त सम्मेलन गुल्मी । गुल्मीको धार्मिक एवं पर्यटकीय क्षेत्र रेसुङ्गामा शन्त सम्मेलन गरिने भएको छ । भारतको अयोध्या र रेसुङ्गाको पुरानो सम्बन्धलाई विस्तार गरी धार्मिक पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्ने उद्देश्यले वैशाखको तेस्रो साता सम्मेलन गर्न लागिएको हो । रेसुङ्गा संरक्षण समितिको आयोजनामा वैशाख २३ देखि ३१ गतेसम्म रेसुङ्गाको पोखरी क्षेत्रमा श्रीराम महायज्ञ कथा वाचन महोत्सव एवं विराट शन्त भक्त दर्शन मेलाको आयोजनासहित सम्मेलन गर्न लागिएको रेसुङ्गा संरक्षण समितिका अध्यक्ष शुरेसचन्द्र भुसालले जानकारी गराए। त्रेतायुगदेखि रेसुङ्गा सम्बन्ध अयोध्यासँग जोडिएको भए पनि यी दुई बीचको धार्मिक सम्बन्ध र महत्वका बारेमा प्रचारप्रसार हुन सकेको थिएन । दुई धार्मिकस्थलको सम्बन्धलाई थप प्रगाढ बनाउनका लागि भारतको राम अयोध्या धामका स्वामी राजेन्द्रनन्द र राजस्थानका योगी शम्भुनाथ सम्बन्ध विस्तारमा लाग्नुभएको छ । उहाँहरू दुवै जनाले पवित्र तपोभूमि रेसुङ्गा पुगी जिल्लाका सबै सरोकारवालासँग शन्त सम्मेलन र यसको मुख्य उद्देश्यबारे जानकारी गराएका थिए । सम्मेलनका लागि चार सय शन्त भारतबाट रेसुङ्गामा आउने कार्यक्रमसमेत तय भइसकेको संरक्षण समितिले जनाएको छ । रेसुङ्गा क्षेत्रको विकासबाट जिल्लाको अन्य धार्मिक र पर्यटकीय क्षेत्रको विकास र प्रवद्र्धनमा टेवा पुग्ने भन्दै सम्मेलनको तयारी थालिएको हो । रेसुङ्गा नगरपालिकासहित छिमेकी पालिका, स्थानीय प्रशासन र विभिन्न सङ्घसंस्थाले वैशाख तेस्रो साता सम्मेलन आयोजना गर्ने विषयमा सहमति भइसकेको रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले बताए । रेसुङ्गा नगरपालिकाले पनि रेसुङ्गा क्षेत्रको विकासका लागि केही दिनमै ‘जाउँ हिँड रेसुङ्गा’ भन्ने अभियान शुभारम्भ गर्न लागेको बताइएको छ । रेसुङ्गा नगरपालिकाको नीति तथा कार्यक्रममा रेसुङ्गाको पर्यटकीय विकासलाई मुख्य प्राथमिकतामा राखेको भन्दै यो सम्मेलनले रेसुङ्गालाई पर्यटकीय गन्तव्यस्थलका रुपमा प्रचार प्रसार गर्न थप सहयोग पुग्ने नगर प्रमुख पन्थीले बताए । योगी शम्भुनाथले ऐतिहासिक, धार्मिक तथा प्राकृतिरुपले विचित्र र रमणीय रेसुङ्गा क्षेत्र ओझेलमा परेकोप्रति दुःख व्यक्त गरेका थिए । उनले अयोध्याका राजा दशरथलाई पुत्र नभएपछि रेसुङ्गाका ऋष्यश्रृङ्ग ऋषिलाई अयोध्या लगेर यज्ञ गरेपछि पुत्र प्राप्त भएको बताए । रेसुङ्गा र अयोध्यासँगको पुरानो धार्मिक सम्बन्ध विस्तार गर्दै साधुशन्तको आवतजावत बढाउने उद्देश्यले सम्मेलनमार्फत अभियान सञ्चालन गर्न लागिएको रेसुङ्गा संरक्षण समितिले बताएको छ ।
सालकको खपेटासहित गोंगबुबाट एक पक्राउ काठमाडौं ।प्रहरीले टोखा नगरपालिका-११ गोंगबु मनमैजु पुलबाट एक महिलालाई पक्राउ गरेको छ । अन्दाजी साढे २ केजी तौल भएको दुर्लभ वन्यजन्तु सालकको खपेटासहित रामेछाप घर भएकी ३४ वर्षीया सन्तोषी श्रेष्ठलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले श्रेष्ठले सञ्चालन गरेको एस एस फेन्सी कलेक्सनबाट उक्त तौलको सालकको खपेटा र २० हजार रूपैयाँ सहित फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बनधमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
रसुवामा आठ महिनामा २९ जनाले गरे सम्बन्ध विच्छेद रसुवा । चालु आर्थिक वर्षको आठ महिनामा २९ जनाले सम्बन्ध विच्छेद गरेका छन् । जिल्लामा कानुनीरुपमा सम्बन्ध विच्छेद गर्नेको सङ्ख्या बढ्दै गएको जिल्ला न्यायाधीश रामचन्द्र पौडेलले जानकारी दिए । आठ महिनाको अवधिमा उनको एकल इजलासबाट २९ थान सम्बन्ध विच्छेदसम्बन्धी मुद्दा फैसला भएको छ । सम्बन्ध विच्छेदका लागि दायर भई विचाराधीन रहेका कूल ३७ थान मुद्दामध्ये आठ मुद्दा फछ्र्योट हुन बाँकी छ । ती मुद्दाको मिसिल प्रक्रियागतरूपमा अगाडि बढिरहेको अदालतका श्रेस्तेदार मुना अधिकारी ढकालले बताइन् । उनका अनुसार न्यायका लागि रसुवा जिल्ला अदालतमा दायर भएका मुद्दा छिटोछरितो तवरले फछ्र्योट हुन थालेको छ । चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म दायर भएका ४३ थान र गत वर्षको जिम्मेवारी सरिआएको ४० समेत ८३ मुद्दामध्ये ५४ थान फैसला भएका कारण न्यायसम्पादन छिटोछरितो भएको यहाँका बासिन्दामाँझ आभास भएको छ । फैसला भएका मुद्दामा धेरै सङ्ख्यामा सम्बन्ध विच्छेद एवं बहुविवाह रहेका छन् भने अन्य मुद्दामा लिखत बदर, अभद्र व्यवहार, जालसाजी, गर्भपतन, अंशबण्डा, सवारी ज्यान, माना चामल, जग्गा खिचोला, सार्वजनिक हित, चेक अनादर, ठगी, अवैध विदेशी विनियम, बालयौन दुरूपयोग जस्ता विविध प्रकारका रहेका छन् । चालु आवमा भएको फैसलाबाट कसुरका आधारमा रू दुई करोड ४४ लाख २९ हजार दुई सय ७९ जरिवानासमेत तोकिएको छ । अदालतको फैसलाबाट गत विगतदेखि हालसम्म तोकिएको कुल रू चार करोड १३ लाख २२ हजार आठ सय ४७ जरिवानामध्ये पाँच लाख १५ हजार असुल भई नेपाल सरकारको राजस्व खातामा दाखिला भइसकेको अदालतका श्रेस्तेदार (उपसचिव) अधिकारी ढकालले बताइन् । चालु आवमा फैसला भएका ५४ थान मुद्दामध्ये जेल सजाय पाउने अभियुक्तमा सरकारवादी मुद्दातर्फ सात रहेका छन् । सरकारवादी मुद्दामध्ये विदेशी विनियम अवैध ओसार सारमा संलग्न सिन्धुपाल्चोक भोटेकोसीका सुप्पा लामा, नवाङनुर्पु तामाङ र दोलखा तामाकोसीका तुलनारायण श्रेष्ठलाई जनही दुई वर्ष र सो अवैध कार्य गर्न गराउन मतियाररूपमा कार्य गर्ने सिन्धुपाल्चोक भोटेकोसीका साङ्गा शेर्पा, सुवास तामाङ र ग्याल्जेन शेर्पालाई जनही छ/छ महिना कैद सजाय भएको अदालतले जनाएको छ । यसरी नै सरकारवादी मुद्दाअन्तर्गत सवारी ज्यानसम्बन्धी अभियोगमा नुवाकोट तादी गाउँ पालिकाका बस्ने शुकराम तामाङलाई भने तीन महिना कैद सजाय भएको जनाइएको छ । विसं २०३८ देखि रसुवा जिल्लामा अदालत स्थापना भएपश्चात् क्रमिकरूपमा स्थानीय बासिन्दा न्यायालय खोज्दै अदालत जाने वातावरणको विकास बन्दै गएको रसुवा नागरिक समाजले जनाएको छ । रसुवामा हुने अन्यायको विरूद्वमा न्यायका लागि पहिला पहिला नुवाकोट जिल्लामा जानुपर्ने बाध्यता हुँदा भौगोलिक विकटताका कारण पैदलमार्ग हिँडाइको असजिलोले कतिपय विषयका मुद्दा गाउँका अगुवाले गाउँका घर आँगनमा बसी मिलाएको स्थानीय बासिन्दाले स्मरणसमेत गराएका छन् । धुञ्चे गाउँको एक फल्याक छाना भएको घरमा अदालत स्थापना गरी सुरू भएको रसुवाको न्यायसेवा अहिले सिमेन्ट पक्की घरबाट सम्पादन हुँदै आएको छ । स्थापनाकालको पहिलो न्यायाधीश स्वर्गानन्द जोशी थिए । सेवाग्राहीलाई बस्ने कुर्सीको व्यवस्था, महिला पुरूषका लागि छुट्टाछुट्टै शौचालय, डिस्पेन्सरमा तातोपानी, अपाङ्गमैत्री, निम्नवर्गका सेवाग्राहीलाई वैतनिक अधिवक्तासमेतको व्यवस्थापनले न्यायसम्पादनको काममा निकै सहयोग मिलेको सेवाग्राहीले बताएका छन् ।
करका विषयमा राजश्व परामर्श समितिले माग्यो सुझाव काठमाडौँ। राजश्व परामर्श समितिले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा कर प्रशासन सुधारका लागि सुझाव माग गरेको छ। अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि गठन गरेको सो समितिले आज एक सूचना जारी गर्दै सुझाव माग गरेको हो। “आगामी आर्थिक वर्ष २०८०/८१ को आर्थिक ऐन, तर्जुमा गर्दा अवलम्बन गर्नुपर्ने राजश्व नीतिका साथै भन्सार महसुल, मूल्य अभिबृद्धि कर, आयकर, अन्तशुल्क, गैरकर एवम् चुहावट नियन्त्रण लगायत समग्र राजश्व प्रशासनको सुधारका सम्बन्धमा चैत २० गतेभित्र सुझाव उपलब्ध गराउन निजी क्षेत्र, सरकारी निकाय एवंं सरोकार राख्ने सबैमा अनुरोध गरिन्छ”, समितिले जारी गरेको सूचनामा भनिएको छ। समितिले विषयगत ९ वटा उपसमितिलाई सुझाव पठाउन सकिने सूचनामा उल्लेख गरेको छ । जसमा आन्तरिक राजस्व उपसमिति, भन्सार उपसमिति, उद्योग वाणिज्य, लगानी तथा निर्यात प्रवद्र्धन उपसमिति, राजस्व चुहावट नियन्त्रण तथा सम्पत्ति शुद्धीकरण अनुसन्धान उपसमिति, कृषि ऊर्जा तथा पर्यटन उपसमिति, बैंक वित्तीय संस्था बीमा सहकारी तथा पुँजीबजार उपसमिति, गैरकर उपसमिति, अन्तरसरकारी राजस्व व्यवस्थापन उपसमिति, राजस्वसम्बन्धी ऐन नियम प्रशासनिक सुधार उपसमिति छन्।
दुई दशकदेखि गाईपालनमा जमेका वासुदेव पाल्पा । व्यवसाय सञ्चालन गर्ने र छोड्ने नेपाली समाजको वास्तविकतामा रामपुरका वासुदेव ढुङ्गाना भने फरक देखिएका छन् । दुई दशकदेखिको गाईपालन व्यवसायलाई निरन्तरता दिँदै आएका ढुङ्गानाले आफ्नो कामलाई थप व्यावसायिक बनाएका छन् । करिब दुई दशक अघिदेखि नै ढुङ्गानाको घरमा स्थानीय जातका गाई पालिन्थ्यो । स्थानीयवासी गाईको दूधले मानव शरीरलाई पोषिलोपन दिने भएकाले उनी जानकार भएदेखि नै घरमा अनिवार्यजसो गाईपालन गर्थे । गाईलाई लक्ष्मीका रुपमा हिन्दू समुदायमा पुज्ने तथा पोषिलो दूध सेवन गर्न पाइने हुँदा स्थानीयले गाई पालनलाई नै जोड दिँदै आएका छन् । घरायसी दूध प्रयोजनका लागि मात्र गाईपालन गर्नुभएका पाल्पा रामपुर नगरपालिका–५ स्थित सानीअमराई बस्ने ढुङ्गाना अहिले भने उन्नत जातका गाईपालनबाट समाजमा अनुकरणीय बनेका छन् । लामो समयसम्म निरन्तर गाईपालनमा लाग्ने उहाँको शैली, जोश र उत्साह बेग्लै खालको छ । जीवनमा कुनै पनि कुरामा विचलित नहुने ढुङ्गानालाई सङ्घर्ष र मेहनतले पाल्पामा अब्बल गाईपालन किसानको रुपमा परिचित बनाएको छ । यस व्यवसायबाट समाजमा नाम र दाम दुबै मिलेपछि उमेरले बुढ्यौलीपनमा छोए पनि व्यवसायमा अझै जोश जागर थपिँदैछ । उनी अहिले उमेर ६४ वर्षको भए । “पहिला त ब्राह्मणका घरमा प्रायजसो स्थानीय जातका धेरैथोरै गाईपालन गर्ने चलन थियो, स्थानीय जातका गाईले पोषिलो दूध दिने, औषधिको रुपमा प्रयोग गरिन्थ्यो”, उनले भने,–“यसले व्यवसायमुखी हुन सकिएन, पशुपालनबाट आम्दानी पनि बढाउनुप¥यो भनेर स्थानीय छाडेर उन्नत जाततर्फ आकर्षित भइयो” । उनले विसं २०६० देखि तराईका विभिन्न स्थानबाट उन्नत गाई खरिद गरी व्यवसाय सुरु गरेका हुन् । व्यवसायलाई विस्तार गर्दैै जाँदा विसं २०७३ मा कामधेनु उन्नत पशुपालन फार्म दर्ता गरी व्यवसायमा लाग्नुभएको छ, ढुङ्गाना । उहाँको फार्ममा हाल साना ठूला गरी १३ वटा गाई र एक भँैसी छन् । तीमध्ये अहिले दुईवटा गाई, एक भैँसीबाट दूध उत्पादन भइरहेको छ भने चारवटा गाई ब्याउने छन् । हाल दैनिक गाई र भैँसीबाट ३० लिटर दूध उत्पादन भइरहेको उहाँले बताउनुभयो । रामपुर बेझाड बजारस्थित अमृत दुग्ध भण्डारमा गाईको प्रतिलिटर रु ६५ र भैँसीको प्रतिलिटर रु ८५ मा दूध बिक्री गरिरहेका छन् । उनले बढीमा ६५ लिटरसम्म दूध उत्पादन गरी बजारमा खपत गर्न सफल भएका छन् । “गोठमा पालिएका गाईभैँसीबाट राम्रै दूध उत्पादन भइरहेको छ, घर नजिकै बजार रहेको हुँदा बिक्री गर्न झण्झट छैन, बिहान उत्पादित दूध बजार लग्यो बेच्ने, हातमा दाम बुझ्यो, यसले व्यवसायमा हौसला बढिरहेको छ”, उनले खुसी हुँदै भने । एक गाईबाट उनले एक पटकमा बढीमा २५ लिटरसम्म र कम्तीमा १२ लिटर दूध उत्पादन लिँदै आएका छन् । राम्रोसँग समय समयमा दानापानी, घाँसपात पु¥याउन सकियो भने एक छाकमै धेरै दूध उत्पादन लिन सकिने उनको अनुभव छ । उहाँले एक महिनामा बढीमा रु एक लाख र कम्तीमा रु ४० हजारसम्म दूध बिक्रीबाट आम्दानी लिइरहेको बताउँछन् । आफ्नै जग्गामा दुईवटा गोठको संरचना तयार पारेर गाईपालन गरिरहनुभएको छ । गाईको दूध बिक्रीबाट मात्र नभइ मल बिक्री गरेर पनि किसान ढुङ्गानाले आम्दानी लिइहेका छन् । गाउँघरमा खेतबारीमा गाईभँैसीको मल प्रयोग गर्ने किसानाई एक ट्र्याक्टर मल रु आठ हजारमा बिक्री हुने गरेको छ । उनी भन्छन्, “यस व्यवसायबाट म सन्तुष्ट छु, घरमा दिन बिताउने माध्यम बनेको छ, बिहान साँभm केही समय काम गरेपछि दिनभर फुर्सदिलो भइन्छ, दूध दुहेर बजार पठाएर लिएको आम्दानीले व्यवसायमा ऊर्जा दिएको छ ।” उनले तराईबाट खरिद गरेका पाँच उन्नत जातका गाईबाट व्यवसाय थालनी गरेका हुन् । अहिले सोही गाईबाट उत्पादन भएका गाई आम्दानीको स्रोत बनिरहेको छ । जर्सी र होलस्टिन गाईलाई खानपान, घाँसपात समयमा मिलाएर दिन सकियो भने दूध उत्पादन राम्रो दिने ढुङ्गानाको अनुभव छ । एक पटक ब्याएको गाई अर्को पटक ब्याउनुअघि दुई महिना दूध दुहुन छाड्ने गरेको उनी बताउँछन् । स्थानीय जातको गाईपालनसमेत गर्नुभएका उहाँ अहिले उन्नतमा जोड दिए पनि स्थानीय गाईको दूध सेवन गर्दा स्वाद नै बेग्लै हुने, चरनका कारणले तागतिलो हुने तर आयस्रोत लागि भने स्थानीय गाईबाट आम्दानी लिन नसकिने अनुभव सुनाए । आफ्नै प्रशस्त जग्गा रहेकाले विभिन्न उन्नत जातका घाँसपात लगाउनुभएको छ । उनले यस व्यवसायका अलवा घरमा तरकारी, फलफूल तथा अन्नबाली समेत उत्पादन गर्दै आएका छन् । केरा, आलु, धान, मकैलगायतका विभिन्न बालीनाली लगाउनुभएको छ । प्रशस्त गोठमेल खेतीपातीमा प्रयोग गर्दा उत्पादन राम्रो भएको छ । एउटा व्यवसायबाट अन्य व्यवसायमा सघाउ पुग्ने भएकाले किसान राम्रो आर्थिक लाभ लिन सक्नेछन् ।
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ काठमाडौँ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले बैंकिङ कसुर मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ गरेको छ। पक्राउपर्नेमा दोलखा भीमेश्वर नगरपालिका–१ चरिकोट घर भई हाल काठमाडौँस्थित बूढानीलकण्ठ नगरपालिका–१३ माइक्रोपार्क नजिकै बस्ने ४४ वर्षीय रमेशकुमार श्रेष्ठ रहेका छन्। उच्च अदालत पाटनको २०७९ पुस २९ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा १० दिन कैद र रु १३ लाख ५० हजार जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले सोमबार काठमाडौँको कोटेश्वरबाट पक्राउ गरेको हो। पक्राउ परेका श्रेष्ठलाई फैसला कार्यान्वयनका लागि ललितपुर जिल्ला अदालतमा पेस गरिएको नेपाल प्रहरीको केन्द्रीय कार्यालयद्वारा प्रकाशित सूचनामा उल्लेख गरिएको छ।
गहना खोज्ने जात्राका लागि बूढानीलकण्ठ-शङ्खमूलवासीलाई निमन्त्रणा काठमाडौँ। हाँडीगाउँस्थित गहना पोखरीमा गहना खोज्न गरिने जात्राका लागि बूढानीलकण्ठबाट शङ्खमूलसम्मका स्थानीयलाई निमन्त्रणा गरिएको छ। काठमाडौँ उपत्यकाका अन्य स्थानमा पाहाँचह्रेका साथै घोडेजात्रा पर्व मनाए पनि हाँडीगाउँ क्षेत्रमा भने यो पर्व मनाइँदैन। हाँडीगाउँमा भने लुकुमाद्य: का रुपमा लुकाएर राखिएको देवतालाई निकालेर आज पूजा आराधना गरिने परम्परा रहेको काठमाडौँ महानगरपालिका–५ का अध्यक्ष बीरेन्द्र प्रजापतीले जानकारी दिए। आजको एक हप्तामा हाँडीगाउँमा लिङ्गो उठाइन्छ। लिङ्गो उठाएको एक हप्तापछि गहनापोखरीमा गहना खोज्ने जात्रा गर्ने गरी सबै तयारी गरिएको जानकारी पनि उनले दिए। जात्राका लागि पुजारी समूह, बाजा बजाउने समूहलगायतले भूमिका निर्वाह गर्नेछन्। डङ्गोल, प्रजापतिलगायत जातिको पनि जात्रामा फरक–फरक भूमिका हुने गरेको छ। जात्राका लागि बाजा, बत्तीलगायत व्यवस्थित गरिने वडा सदस्य विजयप्रकाश कर्माचार्यले जानकारी दिए। जात्राका नाममा रहेको गुठी जग्गा बेचिएपछि जात्राका लागि महानगरपालिकाले पनि सहयोग गर्ने गरेको छ। गुठी संस्थानबाट पूजा सामग्री र बलि सामग्रीको व्यवस्था हुने गरेको वडा कार्यालयले जनाएको छ। हाँडीगाउँ काठमाडौँ उपत्यकाकै पुरानो सहर भएकाले पर्यटकीय रुपमा यसको विकास गरिने भएको छ। महानगरपालिकाको ११औँ नगर परिषद् बैठकले हाँडीगाउँलाई पूर्वलिच्छविकालीन सहरकै स्वरुपमा विकास गर्न विभिन्न गतिविधि गर्ने निर्णय गरेको पनि वडाध्यक्ष प्रजापतीले बताए। महानगरपालिकाले हाँडीगाउँका विषयमा छट्टै कार्यविधि बनाउन लागेको जनाइएको छ। – रासस
मेघौली विमानस्थल : धावनमार्गमा ग्रावेल बिछ्याइँदै चितवन। मेघौली विमानस्थलको स्तरोन्नति गरिने भएको छ। विमानस्थलको घाँसेमैदानको रूपमा रहेको धावनमार्गलाई ‘ग्राबेलिङ’ गर्ने र तारबारलाई व्यवस्थित बनाएर विमानस्थलको स्तरोन्नति गर्न थालिएको हो। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का इञ्जीनियर नलविक्रम थापाका अनुसार ६ महिनाभित्रमा ती काम सम्पन्न गर्ने गरी बोलपत्र आह्वान गरिएको छ। धावनमार्गमा ग्रावेल बिछ्याएर सम्याइने छ। यस्तै अहिले भइरहेको तारबारलाई व्यवस्थित बनाइने छ। हाल धावनमार्गमा घाँस भएको र खाल्डाखुल्डीसमेत पर्ने हुँदा जहाज उडान र अवतरणमा समस्या हुँदै आएको छ। विमानस्थलको सुरक्षाका लागि लगाइएको तारबार ठाउँ–ठाउँमा चुडिएको, पोल ढलेकाले मानिस र जनावर छिर्ने हुँदा असुरक्षासमेत हुँदै आएको छ। उनका अनुसार रु एक करोड ५० लाख हाराहारीमा स्तरोन्नति गर्न लागिएको हो। भरतपुर महानगरपालिकाले विगत केही वर्षयतादेखि सो विमानस्थल स्तरोन्नतिका लागि क्यानलाई अनुरोध गर्दै आएको थियो। महानगरपालिका प्रमुख रेनु दाहालले अहिले नै नियमित उडान नभए पनि चार्टर्ड र आपत्कालीन उडान गर्न मिल्ने गरी विमानस्थललाई व्यवस्थित बनाउन लागिएको बताइन्। उनले भनिन्, “अहिले ग्राबेल धावनमार्ग हुन्छ, पछि कालोपत्र बन्ने छ ।” भरतपुर महानगरपालिकाभित्रका दुई विमानस्थल मध्ये भरतपुर विमानस्थललाई विस्तार गरिँदै छ। उनले महानगरभित्रका दुवै विमानस्थल स्तरोन्नति र विस्तार गरी जुनसुकै समयमा पनि सञ्चालन गर्न सक्ने गरी काम गर्न लागिएको बताए। सरकारले चितवन निकुञ्जभित्र होटल सञ्चालन गर्न नपाउने नीति बनाएपछि विसं २०६७ को मङ्सिरदेखि मेघौली विमानस्थल बन्द रहेको छ। त्यसयता विमानस्थलमा फाट्टफुट्ट उडान हुने गरे पनि नियमित उडान भएको छैन। नेपाली सेनाले तालिमका लागि विमानस्थलको प्रयोग गर्दै आएको छ। विसं २०१७ मा विमानस्थल स्थापना भएपछि निकुञ्जभित्र रहेको टाइगरटप्स जङ्गल लजमा आउने पाहुना ल्याउन विमानले उडान भर्दै आएका थिए। विगतमा कुनै समय मेघौली विमानस्थलमा १० वटासम्म जहाजले उडान भर्ने गरेको तथ्याङ्क छ। भरतपुरबाट २४ किलोमिटर पश्चिमको मेघौली विमानस्थल २३ बिघा जमिनमा फैलिएको छ। विमानस्थलमा एक हजार ६५ मिटर लामो घाँसे धावनमार्ग छ । काठमाडौँबाट उडेको लगभग आधा घण्टामा विमान मेघौली पुग्छ। भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी मेघौली विमानस्थलले पश्चिम चितवनको विकासमा टेवा पुग्ने बताए। मेघौली क्षेत्रमा ठूला पर्यटकीय होटल बढ्दै गएकाले विमानस्थलको स्तरोन्नति भएसँगै चार्टर्ड उडान र भविष्यमा नियमित उडानसमेत हुनसक्ने बताए। महानगरपालिकामा जनप्रतिनिधि आएसँगै दुवै विमानस्थल व्यवस्थित गर्न लागिपरेको उनको भनाइ छ। मेघौली नेपालको महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा चिनिन्छ। यहाँबाट चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकका लागि प्रवेश गर्न सहज छ। – रासस
आठ महिनामा पाँच लाख ६१ हजार सवारीसाधन कारबाहीमा काठमाडौँ। काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने पाँच लाख ६१ हजार तीन सय ७५ सवारीसाधन कारबाहीमा परेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा ट्राफिक नियम उल्लङ्घन गरेको अभियोगमा उक्त सवारीसाधनलाई कारबाही गरेको हो। कार्यालयका अनुसार सबैभन्दा बढी सवारी अड्याउन निषेध गरेको ठाउँमा सवारी राखेको कसुरमा ८८ हजार चार सय ७२ सवारीसाधन कारबाहीमा परेका छन्। यस्तै बढी भाडा लिने दुई हजार एक सय ९०, सवारीचालक अनुमतिपत्र प्राप्त नगरेका ३६ हजार तीन सय ४०, हदभन्दा बढी मानिस वा सामान बोक्ने १३ हजार पाँच सय नौ, मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने ३७ हजार आठ सय ९६ सवारी कारबाहीमा परेका छन्। यसैगरी क्षमताभन्दा बढी यात्रु बोक्ने दुई हजार ४५, रेड लाइटमा सवारी चलाउने १६ हजार नौ सय ६८, सवारी मोड्न निषेध गरेको ठाउँमा सवारी मोड्ने १५ हजार दुई सय ५९, लेन अनुशासन उल्लङ्घन गर्ने १९ हजार आठ सय १७, वानवेमा सवारी चलाउने २१ हजार एक सय २३, अवस्था ठीक नभएका सवारी चलाउने २८ हजार आठ सय ९९, सवारी चलाउन निषेध गरिएको ठाउँ र समयमा सवारी चलाउने १६ हजार दुई सय ४७ सवारीलाई कारबाही गरेको हो। पेटी र हेल्मेट नबाँधी सवारीसाधन चलाउने २१ हजार नौ सय ८१, लापरवाही साथ सवारी चलाउने ७२ हजार एक सय ४४, कागजपत्र साथमा नराखी सवारी साधन चलाउने ४४ हजार ३८, सवारी वजन हद निर्धारण गरेको क्षेत्रमा बढी वजनको सवारी चलाउने २० हजार छ सय ६५, जथाभावी हर्न बजाउने १२ हजार छ सय २२, सार्वजनिक स्थानमा बाधा पुग्ने गरी सवारी राख्ने ३७ हजार दुई सय ६५ र ओभर स्पिडमा सवारी चलाउने २५ हजार सात सय ८२ सवारीसाधन कारबाहीमा परेका छन्। कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले पछिल्लो समय उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि ट्राफिक प्रहरीले विशेष निगरानी बढाउँदै आएको जानकारी दिए। “ट्राफिक नियम उल्लङ्घन गर्दा दुर्घटनाको सङ्ख्या बढेकाले हामीले यसलाई विशेष कडाइ गरेका हौँ”, उनले भने। हाल काठमाडौँ उपत्यकाभित्र २० लाख हाराहारीमा सवारीसाधन आवतजावत हुँदै आएको जनाइएको छ। उक्त सवारीसाधन व्यवस्थापनका लागि काठमाडौँ उपत्यका ट्राफिक कार्यालयबाट एक हजार सात सय ट्राफिक प्रहरी परिचालन हुँदै आएको छ।
वर्षा पछिको काठमाडौं (फोटो फिचर) काठमाडाैं। केही दिनयता राजधानी काठमाडाैंमा वर्षा भइरहेकाे छ। मंगलवार बिहान पनि काठमाडौंमा हल्का वर्षा भएको छ। वर्षासँगै काठमाडौंमा जाडो बढेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने देशको पहाडी भू-भागका केही स्थानहरूमा तथा तराई भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ र हावाहुरी र असिनासहित क्षणिक र हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। राति भने देशभर आशिक देखि सामान्य बदली रहने छ। देशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा तराई भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ र हावाहुरी र असिनासहित क्षणिक र हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको पहाडी भू-भागका केही स्थानहरूमा तथा तराई भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग र हावाहुरी र असिनासहित क्षणिक र हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन र चट्याङ तथा हावाहुरीबाट क्षति हुन नदीन आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु, २६ घाइते सुदूरपश्चिम। कैलालीको दक्षिणपूर्वी क्षेत्र जोशीपुर गाउँपालिका–७ मा गए राति से१च ८८७० नंको ट्रलीसहितको ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा परी अन्य २६ घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परी घाइते भएका भजनी नगरपालिका–९ का अन्दाजी १५ वर्षीया चाहाना चौधरी र ४६ वर्षीया दिलरानी चौधरीको उपचारका क्रममा मृत्यु भएको छ। अन्य घाइतेको घोडाघाडी अस्पताल र बर्दगोरिया अस्पतालमा उपचार भइरहेको छ। कैलालीको सुगरखालबाट भजनीतर्फ गइरहेको उक्त ट्र्याक्टर गुडिरहेकै अवस्थामा अनियन्त्रित भई सडकमै पल्टिएर दुर्घटना भएको जनाइएको छ। चालक भजनीका सुरज चौधरीको खोजतलास भइरहेको प्रहरीले जनाएको छ।
महोत्तरीमा भन्सार छलीमा व्यापारी नै सक्रिय महोत्तरी। महोत्तरीस्थित जलेश्वर नगरपालिकामा व्यापार गर्ने केही व्यापारीले भन्सार छली गरेर अवैध सामान भित्र्याउने गरेको खुलासा भएको छ। जय मा इन्टरप्राइजेजका सञ्चालक सूर्यनारायण साहले भारतबाट भन्सार छली गरेर ल्याउँदै गरेको २८२ कार्टुन सामान प्रहरीले नियन्त्रण लिएपछि उक्त खुलासा भएको हो। जलेश्वर-२ स्थित रामप्रसाद चौधरीको घरमा अवैध सामान स्टोर गर्ने गरेको सूचनापछि प्रहरीको निगरानीमा रहेका सूर्यनारायण साहको उक्त सामान सोमबार नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। सामान ओसारपसारमा सग्लन तीन जना भारतीयलाई पनि प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सितामाढी बिहार घर भएका प्रभात कुमार, विभु कुमार र साजन कुमार महतो पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका सुचना अधिकारी सरोज राइले जानकारी दिए। उनीहरूलाई थप अनुसन्धानको लागी जिल्ला भन्सार कार्यालय मालिवारा पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीले आजै भन्सार छली गरेर ल्याएको ७६० केजी खैनी पनि बरामद गरेको छ।
आज घोडे जात्रा पर्व विभिन्न कार्यक्रम गरि मनाइँदै काठमाडौं। चैत्र कृष्ण औँसीका दिन प्रत्येक वर्ष मनाइने घोडे जात्रा पर्व आज विभिन्न कार्यक्रम आयोजना गरी विशेषगरी काठमाडौँ उपत्यकामा मनाइँदैछ। जनविश्वासअनुसार टुँडिखेलको पूर्व-दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले सहरका बालबालिकालाई खाने गरेको थियो। पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे। राक्षसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय स्थानीयवासीमा रहिरह्यो। यसैकारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो। साथै सहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ। यसो गरेपछि वर्षभर बालबालिकालाई गुरुमापाबाट खतरा नहुने विश्वास राजधानीवासीमा छ। नेपाली सेनाका तर्फबाट आजै टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकला लगायतको प्रदर्शन गरिन्छ। आजकै दिन ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ । यस अवसरमा सरकारले काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा पनि दिएको छ।
आजको मौसमः मुलुकका अधिकांश स्थानमा हावाहुरीसहित पानी पर्ने संभावना काठमाडौं। हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको पनि प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने देशको पहाडी भू-भागका केही स्थानहरूमा तथा तराई भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ र हावाहुरी र असिनासहित क्षणिक र हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। राति भने देशभर आशिक देखि सामान्य बदली रहने छ। देशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा तराई भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ र हावाहुरी र असिनासहित क्षणिक र हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको पहाडी भू-भागका केही स्थानहरूमा तथा तराई भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग र हावाहुरी र असिनासहित क्षणिक र हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन र चट्याङ तथा हावाहुरीबाट क्षति हुन नदीन आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
राहदानी विभागले घोडेजात्राको बिदाको दिन पनि सेवा दिने काठमाडौं। राहदानी विभागले मङ्गलबार अर्थात् घोडेजात्राको बिदाका दिन पनि आफ्नो सेवा दिने भएको छ। सरकारले घोडेजात्राका अवसरमा मङ्गलबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिए पनि राहदानी विभागले भने आफ्नो सेवा नरोकिने जनाएको छ। विभागका सूचना अधिकारी खिमानन्द भुसालले मङ्गलबार बिहान १० देखि दिउँसो साढे २ः३० बजेसम्म विभाग खुल्ने र सेवा प्रदान गरिने बताए। उनले भने, “भोलि मङ्गलबारका लागि आठ सय जनाले राहदानीका लागि फम भरेका र बिदा परेकाले पनि हामीले २ः३० बजेसम्म हाम्रो सेवा दिनेछौँ।” यसैगरी, विभागले मङ्गलबार बिदाका दिनमा पनि आफ्नो सेवा दिने विषयमा एक सूचनासमेत सार्वजनिक गरिएको छ।
चैत १० देखि नेपाल फाईभ पि अन्तर्राष्ट्रिय प्रदर्शनी काठमाडौं। विगतका वर्षहरुझैं यस वर्ष पनि मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रा.लि.ले तेस्रो नेपाल फाईभ पि अन्तर्राष्ट्रिय प्रर्दशनी चैत्र १०, ११ र १२ गते भृकुटीमण्डप, काठमाडौँमा आयोजना हुने भएको छ। प्रदर्शनीमा स्वदेशी तथा विदेशी कम्पनिहरुका १५० भन्दा बढी स्टलहरु रहने छन्। नेपाल फाईप पी नेपालभरी रहेका प्लाष्टिक, पेपर, प्रिन्टिङ, प्याकेजिङ तथा प्रोसेसिङसँग सरोकार राख्ने व्यापार–व्यवसायहरुलाई एकै ठाउँमा ल्याएर व्यापार साझेदारी, नविनतम प्रविधि तथा संवाद गर्न साझा मञ्च प्रदान गर्ने एक मात्र उद्योग–व्यापार विशेष अन्तर्राष्ट्रिय प्रदर्शनी हो। उक्त प्रदर्शनी मार्फत ती पाँच बिधामा संचालन भएका उध्योग र व्यापार व्यवसायहरलाई निर्यातका नयाँ अवसरहरु, नविनतम प्रविधिसंग सात्क्षात्कार गराउनुका साथै बिभिन्न उध्योगहरुबिच प्रविधि साटासाट र सहकार्य गर्न प्रोत्साहित गर्ने आयोजकले विश्वास लिएका छन्। यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा सहआयोजकका रुपमा नेपाल मुद्रण उद्योग महासंघ तथा सहयोगी संस्थाको रुपमा नेपाल कोरोगेटेड बक्स उत्पादक संघ रहेका छन्। यो प्रदर्शनीमार्फत ती पाँच विधामा सञ्चालन भएका उद्योग तथा व्यापार व्यवसायहरुलाई निर्यातका नयाँ अवसरहरु, नविनतम प्रविधिसंग साक्षात्कार गराउनुका साथै विभिन्न उद्योगहरुबीच प्रविधि साटासाट र सहकार्य गर्न प्रोत्साहित गर्ने आयोजकले विश्वास लिएका छन्। यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा सह–आयोजकको रुपमा नेपाल मुद्रण उद्योग महासंघ तथा सहयोगी संस्थाको रुपमा नेपाल कोरोगेटेड बक्स उत्पादक संघ रहेका छन्। सप्लायर्स र उत्पादकहरुको साझा मंच मात्र नभएर नेपाल फाईभ पीले समृद्द नेपालको रेखांकनमा पनि उत्तिकै योगदान पुर्‍याउनका साथै संसार भरिका उत्कृष्ट प्रविधि र प्रयासहरुलाई भित्राउने नेपाल फाईभ पि एक्स्पोका आयोजकले दाबी गरेका छन्।
ग्राहकको एक करोडभन्दा बढी पैसा सापटी लिएर सम्पर्कविहीन भए प्रभु बैंक खोटाङका प्रबन्धक खोटाङ। प्रभु बैंकको दिक्तेल शाखा खोटाङका प्रबन्धक होमराज खतिवडा ग्राहकको पैसा सापटी लिएर एक महिनादेखि सम्पर्कविहीन भएका छन्। खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ घर भएका प्रभु बैंकका प्रबन्धक खतिवडा चिनजानका साथीभाइसँग लाखौँ पैसा सापटी लिएर फागुन १ गतेदेखि सम्पर्कविहीन भएका हुन्। प्रबन्धक खतिवडाले दर्जनौँ व्यक्तिको पैसा सापटी लिएको खुलेको छ। खतिवडा सम्पर्कविहीन भएपछि उनलाई पैसा सापटी दिने व्यक्तिहरू फसेको भन्दै अत्तालिन थालेका छन्। गत माघ मसान्तसम्म बैंकको शाखा कार्यालय दिक्तेलको सम्पर्कमा रहेका खतिवडा अहिलेसम्म सम्पर्कमा आएका छैनन्। प्रबन्धक खतिवडाले सापटी भनेर रु १० लाख लिएकामा रु पाँच लाख फिर्ता गरेर बाँकी रु पाँच लाख फिर्ता नगरी सम्पर्कविहीन भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका काँशिराज बस्नेतले बताए। “प्रबन्धक खतिवडा मेरै स्कुले साथी हुनुहुन्छ। धेरै पटक उहाँले हामीसँग व्यवहार गर्नुभएको थियो”, उनले भने, “पछिल्लो समय पैसा फिर्ता नगरी एकाएक उहाँ सम्पर्कविहीन हुनुभयो। सँगै पढेको साथीले यस्तो गरेपछि दुःख लागेको छ।” प्रबन्धक खतिवडाले एउटै व्यक्तिबाट रु १६ लाखसम्म सापटी पैसा लिएको खुलासा भएको छ। खतिवडाले कतिपयलाई चेक दिएर पैसा सापटी लिएको पाइएको छ। उनले खातामा पैसा भएको ग्राहकलाई छानेर बैंकमै बोलाएर तथा नजिक घर भएका व्यक्तिलाई घरमै गएर पैसा सापटी माग्ने गरेको पीडितहरुले बताएका छन्। प्रबन्धक खतिवडाले केही दिनमा फिर्ता गर्ने गरी भतिजोलाई अष्ट्रेलिया पठाउन तयार पारेको पैसा सापटी लिएर सम्पर्कविहीन भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–सोल्माका गङ्गाबहादुर विश्वकर्माले बताए। “प्रबन्धक खतिवडाले खातावालाकै नाममा चेक काट्न लगाएर बैंकबाट पैसा झिक्नुहुन्थ्यो। मेरो ओडी खाता हेरेर रु तीन लाख सापटी मागेपछि दिएँ। चार÷पाँच दिनपछि फेरि बैंकमा बोलाउनुभयो”, उनले भने, “फेरि मेरै नाममा काटेको रु तीन लाखको चेक लैजानुभयो। नदिउँ भने बैंकको हाकिम, कसरी नदिनु? सबै लोनको काम गर्दिरहेको छ। त्यो विश्वासले गर्दा आफ्नै नाममा चेक काटेर दिएँ। अहिले आएर फसेँ।” प्रबन्धक खतिवडा सम्पर्कविहीन भएपछि कोठा, घर र प्रभु बैंकको प्रदेश कार्यालय, विराटनगरसम्म पुगेर कुरा राखेको विश्वकर्मा बताएका छन्। उनले चिनजानका व्यक्तिबाट रु एक करोडभन्दा बढीको हाराहारीमा पैसा सापटी लिएको अनुमान गरिएको पीडितहरुले बताएका छन्। प्रबन्धक खतिवडाले सोही बैंकको कार्यालय रहेको घरका घरधनी इन्द्रकुमार श्रेष्ठ र उनका छोरा उद्धव श्रेष्ठको रु दुई लाख ८७ हजार सापटी लिएर फिर्ता नगरेको इन्द्रकुमारका जेठा छोरा ध्रुव श्रेष्ठले बताए। “प्रबन्धक खतिवडाले हाम्रो परिवारबाट त्यसअघि पनि पटक–पटक सापटी पैसा चलाउनुहुन्थ्यो। बैंकका प्रबन्धकले भनेपछि दिनैपर्‍यो। उहाँ आफ्नै जिल्लाका स्थानीय बासिन्दा पनि हुनुहुन्छ”, उनले भने, “बैंककै प्रबन्धकले यस्तो गर्नुहुन्छ भन्ने लाग्दैनथ्यो। अहिले धेरैको पैसा चलाएर फिर्ता नगरी सम्पर्कविहीन भएको सुन्नमा आएको छ।” प्रबन्धक खतिवडाले व्यापारीदेखि आफ्नै सहकर्मी तथा आफन्तसँग पनि पैसा सापटी लिएको बताइएको छ। प्रबन्धक खतिवडालाई सम्पर्क गर्दा उनको मोबाइल नम्बर अफ छ। उनले बैंकको रकम भने छोएका छैनन्। शाखा प्रबन्धक खतिवडा सम्पर्कविहीन भएको केही समयपछि प्रभु बैंकले सो स्थानमा दीपक खत्रीलाई पठाएको छ। यद्यपि, खतिवडा सम्पर्कविहीन भएको विषयमा प्रभु बैंकको आधिकारिक धारणा आएको छैन। प्रबन्धक खतिवडाबाट पीडित भएका स्थानीय बासिन्दाहरु सापटी पैसा फिर्ताका लागि प्रहरीलाई गुहार्न लागि परेका छन्। पैसा सापटी लिएको विषयमा पीडितको उजुरी वा कुनै गुनासो नआएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले बताए।
भन्सार छली ल्याइएको लत्ताकपडा तथा खाद्यान्न बरामद वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट भन्सार छली ल्याउँदै गरेको लत्ताकपडा तथा खाद्यान्न नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिकाभित्र ईनर्वागाउँ, नगवा र छपकैयाबाट अवैध रूपमा भन्सार छली ओसारपसार गर्दै गरेको अवस्थामा उक्त सामान नियन्त्रणमा लिइएको हो । भन्सार छली ल्याइएका पाँच लाख ७० हजार ७ सय १० रुपैया बराबरको विभिन्न किसिमका लत्ताकपडा तथा खाद्यान्न सामग्री आवश्यक कारबाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
स्वीकृति नलिने पात्रो र भित्तेपात्रोलाई रु एक लाखसम्म जरिवाना गरिने काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको स्वीकृति नलिई प्रकाशन गरिने भित्तेपात्रो (क्यालेन्डर) र पात्रो (पञ्चाङ्ग) का सञ्चालकलाई रु १० हजारदेखि रु एक लाखसम्म कारबाही गरिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समितिको आन्तरिक दिग्दर्शन, २०७९ स्वीकृत गरी विधिसम्मत रुपमा प्रकाशन नहुने भित्तेपात्रो र पात्रोका सञ्चालकलाई कानुनी कारबाही गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्ले विसं २०७७ पुस २० गते समितिको गठन आदेश स्वीकृत गरी नेपाल राज्यभरबाट प्रकाशन हुने पात्रो र भित्तेपात्रोको स्वीकृति दिने अधिकार समितिलाई दिएको थियो । गठन आदेश सरकारले २०७८ साउनमा नेपाल राजपत्रमा प्रकाशन गरेको थियो । समितिको स्वीकृति नलिई प्रकाशन हुने पात्रो र भित्तेपात्रोको अनुगमन गर्न मन्त्रालयका संस्कृति महाशाखा प्रमुख सहसचिव डा सुरेशसुरस श्रेष्ठको संयोजकत्वमा पाँच सदस्यीय केन्द्रीय अनुगमन समिति गठन गरिएको छ । समितिमा गृह मन्त्रालय, आन्तरिक व्यवस्था महाशाखाका उपसचिव भीमकान्त शर्मा, संस्कृति मन्त्रालयका उपसचिव पुण्यमाया गुरागाईं, समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेल र पञ्चाङ्गकार मुरारीराज पाण्डे सदस्य रहेका छन् । समितिले आवश्यकताअनुसार उपसमिति पनि गठन गर्न सक्ने व्यवस्था दिग्दर्शनमा गरिएको छ । दिग्दर्शनमा विद्युतीय पात्रो र भित्तेपात्रोले पनि समितिको स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ । अनुगमनका क्रममा स्वीकृति नलिएको पाइएमा कानुनअनुसार विद्युतीय पात्रो र भित्तेपात्रोलाई पनि कारबाही गरिने समितिका कार्यकारी निर्देशक ढुङ्गेलले बताए । अनुगमन समितिले अनधिकृत रुपमा ७७ जिल्लाबाटै प्रकाशन हुने पात्रो र भित्तेपात्रोको अध्ययन गरी सूचना सङ्कलन गर्ने भएको छ । यसका लागि संस्कृति मन्त्रालयले गृह मन्त्रालयमार्फत ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गर्ने तयारी गरेको छ । समितिमा हालसम्म आगामी वर्ष २०८० का लागि एक सय ५० भित्तेपात्रोले स्वीकृति लिएका छन् । हाल अनलाइनमार्फत स्वीकृति लिने भित्तेपात्रोको सङ्ख्या बढिरहेको कार्यकारी निर्देशक ढुङ्गेलले बताए । समितिको स्वीकृति लिएर १५ वटा पात्रो भने गत माघमै प्रकाशन भइसकेका छन् ।
३५ वटा युट्युब च्यानल काउन्सिलको विशेष निगरानीमा, कारबाही गरिने प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिताको चरम उल्लङ्घन गर्ने ३५ वटा युट्युब च्यानललाई विशेष अनुगमनमा राखेको छ। काउन्सिलअन्तर्गत आचारसंहिता अनुगमन उपसमितिको सोमबार बसेको बैठकले विशेष निगरानीमा राखिएका युट्युब च्यानलका विषयवस्तु, त्यसमाथि परेका उजुरी, स्वअनुगमनसमेत अध्ययन गरी १५ दिनभित्र प्रतिवेदन तयार गर्ने निर्णय गरेको हो। काउन्सिलले कुनै मिडियाअन्तर्गत आबद्ध नभएका युट्युब च्यानललाई अनुुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरी (साइबर ब्युरो)मा सिफारिस गर्ने र यस्ता च्यानलले सम्प्रेषण गरेका सामग्री र आकर्षित ऐन, नियम, निर्देशिका, आचारसंहिताबारे उल्लेख गरी कारबाहीका लागि युट्युब कम्पनीलाई अनुरोध गर्ने भएको छ। काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतको संयोजकत्वमा बसेको उपसमितिको बैठकले कतिपय युट्युब च्यानल प्रचलित ऐन, नियम, निर्देशिका, आचारसंहिताबारे जानकारीसमेत नभएका, के गर्ने÷नगर्ने भन्ने सामान्य ज्ञानसमेत नभएको देखिएको भन्दै व्यावसायिकरूपमा सञ्चालन हुन चाहने युट्युब च्यानललक्षित एक दिने अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ। बैठकमा अध्यक्ष बस्नेतले युट्युब च्यालनलाई मर्यादित, जिम्मेवार र विश्वसनीय बनाउन काउन्सिलले विशेष अभियान थालेको जानकारी दिए। ‘युट्युब च्यानल आफैँमा सूचना सम्प्रेषणका उपयुक्त माध्यम हुन्। युट्युबबाट भरपर्दो, विश्वसनीय र जिम्मेवारपूर्ण सूचना सम्प्रेषण हुनु जरुरी छ’, बस्नेतले भने, ‘युट्युबको दुरूपयोग होइन, विश्वसनीय र रचनात्मक बनाउन हामी केन्द्रित हुनुपर्दछ।’ बैठकमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेल, काउन्सिलका सदस्यहरू दिपक पाण्डे, दुर्गा भण्डारी पौडेल, ठाकुर बेलबासे, लालबाबु शेख, बार एसोसिएसनका तर्फबाट प्रतिनिधि महासचिव अञ्जिता खनाल, काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसाल र उपप्रशासकीय अधिकृत एवं सहप्रवक्ता रामशरण बोहराको सहभागिता रहेको थियो। काउन्सिलले यसअघि नै युट्युबलगायत सामाजिक सञ्जालको नियमन तथा व्यवस्थापनका लागि सुझाव दिन कार्यदल गठन गरी उक्त कार्यदलको प्रतिवेदनसहित सरकारलाई सुझावसमेत पेस गरिसकेको थियो।
राहादानी विभागले घोडेजात्रामा पनि सेवा दिने काठमाडौँ। राहदानी विभागले मंगलबार पनि सेवा दिने भएको छ। सरकारले घोडेजात्राको अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिए पनि राहादानी बिभागले भने आफ्नो सेवा नरोकिने जनाएको हो । विभागका अनुसार विभाग  बिहान १० बजेदेखि दिउँसो साढे २ बजेसम्म खुल्नेछ।
फागुनमा ६१ हजारले लिए श्रम स्वीकृति काठमाडौँ।  सरकारले बाध्यकारी वैदेशिक रोजगारी अन्त्य गरी स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराउने जनाएपनि गत फागुन महिनामा वैदेशिक रोजगारीमा जानका लागि ६१ हजार बढीले श्रम स्वीकृति लिएका छन्। फागुनमा नयाँ श्रम स्वीकृति, पुनःश्रम स्वीकृति र व्यक्तिगत गरी ६१ हजार आठ सय ४५ ले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागको तथ्याङ्कमा उल्लेख छ। फागुनमा सबैभन्दा बढी मलेसियाका लागि १९ हजार आठ सय २४ ले श्रम स्वीकृति लिएका छन्। कतारका लागि ११ हजार तीन सय तीन, संयुक्त अरब इमिरेट्सका लागि नौ हजार सात सय ९५, साउदी अरेबियाका लागि नौ हजार पाँच सय तीन, कुवेतका लागि दुई हजार चार सय ६२, दक्षिण कोरियाका लागि दुई हजार दुई सय २७ र रोमानियका लागि एक हजार ७० जनाले श्रम स्वीकृति लिएका वैदेशिक रोजगार विभागले जनाएको छ। वैदेशिक रोजगारीका लािग श्रम स्वीकृति लिनेमा अदक्ष कामदारको सङ्ख्या उल्लेख्य रहेको छ । फागुनमा १३ हजार पाँच सय ८० अदक्ष कामदारले श्रम स्वीकृति लिएका छन्। ४२ हजार सात सय १८ दक्ष, पाँच हजार चार सय ४९ अर्धदक्ष, ६८ व्यावसायिक र ३० उच्च दक्ष श्रमिकले श्रम स्वीकृति लिएको विभागले जनाएको छ।
गाँजासहित भारतीय नागरिक पक्राउ पर्सा। वीरगञ्जको सीमा क्षेत्रबाट भारी परिमाणमा प्रतिबन्धित लागुऔषधसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन्। वीरगञ्ज महानगरपालिका-१६ स्थित इन्र्वाबाट एक सय ४१ किलो गाँजासहित पक्राउ गरेका भारत विहार पूर्वी चम्पारण मोतिहारीको लक्ष्मीपुर निवासी २७ वर्षीय ओमप्रकाश सिंहलाई प्रहरीले आज सार्वजनिक गरेको हो। विआर ०६ जि ऐ ९६९१ नम्बरको मिनि ट्रकमा गाँजा लुकाइ भारततर्फ लैजाँदै गएको अवस्थामा पूर्वसूचनाका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए। इन्र्वागाउँस्थित धर्मकाँटा अगाडि रोकिराखिएको भारतीय ट्रकलाई नियन्त्रणमा लिई जाँच गर्दा गाँजा गरिएको थियो। चैत ४ मा पक्राउ परेका सिंहलाई चैत ५ मा पर्सा जिल्ला अदालतबाट अनुसन्धानका लागि सात दिनको म्याद बुझेको सूचना अधिकारी सिंहले बताए।
नापतौलको अनुगमन : ठगी गर्नेलाई कारबाही काठमाडौँ। नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँले नापतौल यन्त्र प्रयोग गरी ठगी गर्ने सात हजार नौ सय ४४ व्यापारीलाई कारबाही गरेको छ। कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा अनियमितरुपमा नाप्ने तौलने यन्त्र प्रयोग गरी उपभोक्तालाई ठगी गर्ने झण्डै आठ हजार व्यापारीलाई कारबाही गरेको हो। पछिल्लो समय नापतौल यन्त्रमार्फत उपभोक्ता ठगी गर्ने क्रम बढेकाले कार्यालयले विशेष निगरानी बढाएको सो कार्यालयका सूचना अधिकारी निराजन पुडासैनीले जानकारी दिए। उनले भने, “अनुगमनका क्रममा कतिपय व्यापारीले यन्त्रको दर्ता नगराएको र दर्ता गरेका व्यापारीले पनि नवीकरण नगरेको भेटिएको छ।” सो कार्यालयले फागुन महिनासम्म दुई हजार ७५ व्यापारीलाई नापतौल तथा नाप्ने तौलने यन्त्र प्रयोेग गर्न अनुमति प्रदान गर्नुका साथै इजाजतपत्र नवीकरणसमेत गरेको छ। सीमित स्रोत र साधनबीच बजार अनुगमनको कार्यलाई तीव्रता दिएको सो कार्यालयले नापतौलसम्बन्धी उपभोक्ता हक, हित संरक्षणका लागि एक सय २५ पटक एकल अनुगमन र एक सय १६ पटक संयुक्तरुपमा बजार अनुगमन गरेको सूचना अधिकारी पुडासैनीले बताए। चालु आवको आठ महिनामा सो कार्यालयबाट पाँच हजार आठ सय ६९ व्यापारीले नापतौल तथा नाप्ने तौलने यन्त्र जाँच गरेका छन् । यस्तै, च चार सय १५ पेट्रोलियम पदार्थ वितरण पम्प जाँच, ७९ भेहिकल टैङ्क जाँच, पाँच हजार ७० ट्याक्सीको मिटर जाँच गरेको छ । कार्यालयका प्रमुख राकेशकुमार झा जानीजानी सेवाग्राहीलाई ठगी गर्ने क्रम बढेकाले नापतौल कार्यालयले कारबाहीलाई प्राथमिकता दिएको बताउँछन्। “नियतवश आम उपभोक्तालाई ठगी गर्ने जोकोहीलाई कारबाहीको दायरामा ल्याउँछौँ”, उनले भने। सो कार्यालयले चालु आवको आठ महिनामा रु एक करोड ३५ लाख ६३ हजार छ सय ७९ राजस्व सङ्कलन गरेको छ। सो कार्यालयले हाल काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, धादिङ, नुवाकोट र रसुवामा नापतौलको अनुगमन र गल्ती गर्नेलाई कारबाही गर्दै आएको छ।
फुपुकी छोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा किशोर पक्राउ पोखरा। फुपूको छोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा पोखराका एक किशोर पक्राउ परेका छन्। १४ वर्षीया बालिकाका परिवारको जाहेरीपछि बाल यौन दुर्व्यवहारको आरोपमा किशोर पक्राउ परेका हुन्। किशोरीले आफूमाथि मामाको छोराबाट यौन दुर्व्यवहार भएको भन्दै दुई दिनअघि टिकटकमार्फत घटना सार्वजनिक गरेकी थिइन्। आइतवार पक्राउ परेका किशोरलाई कास्की जिल्ला अदालतबाट म्याद थप गरी बाल निगरानी कक्षमा राखिएको छ। किशोरीले टिकटकमार्फत आफू मामाको घरमा गएर बस्दा मामाको छोराले पटकपटक यौन दुर्व्यवहार गरेको जनाएकी थिइन्। उनका अनुसार मामा माइजुलाई भन्दा उल्टै  गाली गरेको र मामाको छोराले आफूलाई ज्यान मार्ने धम्कीसमेत दिएका थिए। जसका कारण आफुले नाडी काटनु परेकाे तथार आत्महत्याको सोचसमेत आएको उनले टिकटकमार्फत सार्वजनिक गरेकी थिइन्। टिकटकमार्पफत सो घटना सार्बजनिक भएपछि किशोरीको परिवारको जाहेरीको आधारमा किशोरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिए। उनका अनुसार अदालतबाट म्याद थप भएका किशोर माथी अनुसन्धान कार्य अगाडि बढाएईएको छ। दुबै किशोर भएकाले प्रहरीले औपचारिक रुपमा भने नाम भने सार्वजनिक गरेको छैन।
दश बुँदे घोषणापत्रजारी गर्दै नेपाल-भारत साहित्य महोत्सव सम्पन्न विराटनगर। दशबुँदे विराटनगर घोषणापत्र जारी गर्दै तीनदिने नेपाल-भारत साहित्य महोत्सव सम्पन्न भएको छ। विराटनगर महानगरपालिका र भारतको मेरठस्थित क्रान्तिधरा साहित्य अकादमीको संयुक्त आयोजनामा विराटनगरमा जारी महोत्सव आइतबार औपचारिकरुपमा सम्पन्न भएको हो। नेपाली साहित्य पुस्तक हिन्दीमा र हिन्दी साहित्यका पुस्तकलाई नेपालीमा अनुवाद गरी दुवै देशको साहित्यलाई एक-अर्को देशमा प्रवद्र्धन गर्नेसहित १० बुँदे घोषणापत्र जारी गर्दै महोत्सव सम्पन्न भएको छ। त्यस्तै महाभारतकालीन राजा विराटको दरबारलाई महाभारत सर्किटसित जोड्ने विषयमा पुरातात्विक विभाग र इतिहासकारसित समन्वय गरेर थप अध्ययन अनुसन्धान गर्ने जारी घोषणापत्रमा उल्लेख छ। आगामी महोत्सवमा दुवै देशका विश्वविद्यालय, कलेज र विद्यालयमा अध्ययन गर्ने युवा स्रष्टालाई बढीभन्दा बढी सहभागी गराइने, वार्षिक साहित्य महोत्सवबाहेक अन्य वर्षौंभरि दुवै देशमा विभित्र साहित्यिक कार्यक्रम आयोजना गर्ने र एक-अर्का देशमा आमन्त्रण गर्ने, युवा साहित्यकारलाई प्रोत्साहित गर्नेलगायत घोषणपत्रमा उल्लेख छ। विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले साहित्य महोत्सवको समापन गर्दै भाषा, साहित्य, कला र संस्कृतिका माध्यमबाट दुई देशबीचको सम्बन्ध बलियो बनाउन भूमिका खेल्ने बताए। उनले आफू महानगरको नेतृत्वमा आएदेखि नै साहित्य महोत्सव गर्ने योजना बनाएको सुनाए। आगामी दिनमा थप व्यवस्थित र वृहत कार्यक्रम गर्ने उनको भनाइ थियो। “भौतिक विकासलाई मात्रै हामीले विकासका रुपमा लिने गरेका छौँ”, प्रमुख कोइरालाले भने, “भौतिकसँगै भाषा, साहित्य, कला र संस्कृतिको पनि विकास हुनुपर्छ। त्यसो भयो भने मात्रै समृद्धि र संस्कारयुक्त समाज निर्माण हुन्छ।” नेपालका ७ वटै प्रदेशसहित भारतका सबै राज्यबाट प्रतिनिधिमूलक तीन सय ५० भन्दा बढी साहित्यकारको सहभागिता रहेको थियो। महोत्सवमा कृति विमोचन, विभिन्न विषयमा बहस, अनुवाद साहित्यमाथि विमर्श, बहुभाषी गजल, मुक्तक, चारु, लघुकथा र कविगोष्ठीसमेत भएको थियो। महोत्सवमा दुई सय ५० भन्दा बढीले सिर्जना वाचन गरेका थिए। अग्रज साहित्यकार विवश पोखरेलको अध्यक्षतामा भएको समापन कार्यक्रममा वरिष्ठ साहित्यकार दधिराज सुवेदी, मेरठ अकादमीका अध्यक्ष डा विजय पण्डित, चेतना संरक्षण प्रतिष्ठानकी अध्यक्ष गङ्गा सुवेदी, वरिष्ठ साहित्यकार डा घनश्याम न्यौपाने परिश्रमी, पोखराका साहित्यकार बलराम उपाध्याय रेग्मी, भानु कला केन्द्रकी अध्यक्ष माया पौडेल, कार्यक्रम संयोजक देवी पन्थी, चन्द्रागिरि साहित्य प्रतिष्ठान काठमाडौँ अध्यक्ष जनार्दन अधिकारी धड्कन, साहित्यकारसमेत रहेका महानगर प्रमुखका प्रेस सल्लाहकार मीनकुमार नवोदित, सार्क कल्चरल सोसाइटी नेपालका अध्यक्ष राजेन्द्र गुरागाईं, कवि गोकुल अधिकारीलगायतले भौगोलिक सीमाले नेपाल र भारतलाई विभाजित गरे पनि कला, साहित्य र संस्कृतिले जोडेको बताएका थिए। उनीहरूले विराटनगर महानगरले भाषा, साहित्य, कला र संस्कृतिलाई महत्व दिएको भन्दै प्रशंसासमेत गरेका थिए।
आजको मौसमः चार प्रदेशमा मेघ गर्जनसहित पानी पर्ने संभावना काठमाडौं। हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहने छ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानहरुमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक र हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। उता राति पनि देशभर आँशिकदेखि सामान्य बदली रहने छ। देशको पहाडी भू-भागका केही स्थानहरूमा तथा तराई भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक र हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानहरुमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक र हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन, चट्याङ्ग तथा हावाहुरीबाट क्षति हुन नदिन आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
दाङमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमानको मृत्यु, श्रीमती र छोरीको अवस्था गम्भीर दाङ। दाङमा आइतबार बेलुकी ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ। दुर्घटनामा दुई जना घाइते भएका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। ज्यान गुमाउनेमा मोटरसाइकल चालक प्युठानको नौबहीनी गाउँपालिका–६ का ३२ वर्षीय राजन केसी रहेका दाङका प्रहरी प्रमुख वीरबहादुर वलीले जानकारी दिए। दुर्घटनामा उनकी श्रीमती सन्ध्या र दुई वर्षीया छोरी राष्ट्रियता गम्भीर रहेको प्रहरीको भनाइ छ। दुर्घटनामा घाइते भएका तीनै जनालाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएकोमा राजनको केहीबेरअघि ज्यान गएको प्रहरीले जनाएको छ। घोराहीदेखि लमही जाँदै गरेको प्रदेश ०३–००१ क ०१६९ नम्बरको मिनी ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बाग्मती प्रदेश ०२–०१६ प ३६५७ नम्बरको मोटरसाइकललाई घोराही उपमहानगरपालिका–३ कुइरेपानीमा ठक्कर दिँदा दुर्घटना भएको हो।
राहदानी दुरुपयोग प्रकरणमा रवि लामिछानेलाई प्रकृया पुर्‍याएर सफाई दिने सरकारको तयारी काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राहदानी दुरुपयोग प्रकरणमा सरकारले प्रकृया पुर्‍याएर सफाई दिने तयारी गरेको छ। त्यसका लागि पहिलो चरणमा काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले लामिछानेविरुद्ध मुद्दा चलाउन नपर्ने निर्णय गर्दे त्यसको अनुमोदनका लागि सरकारी वकिलको उच्च कार्यालयमा पठाउने भएको छ। ‘हामीले उहाँ विरुद्ध मुद्धा चलाउनुपर्ने कारण देखेनौं यहाँबाट आवश्यक प्रमाण नभेटिएकाले माथिल्लो कार्यालयमा लेखी पठाउने निर्णय गरेका छौ’, काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेले बताए। उनका अनुसार रविले राहदानी दुरुपयोग गरेको आवश्यक प्रमाण नपुगेकाले सो निर्णय गर्नुपरेको हो। सरकारी वकिल कार्यालयले सदरका लागि फाइल उच्च सरकारी वकिल कार्यालय ललितपुर पठाउने निर्णय गरेको छ। उच्च सरकारी वकिल कार्यालयले सदर गरेर महान्यायधिवक्ता कार्यालय पठाएर त्यहाँबाट सदर भएपछि उनले सो प्रकरणमा सफाई पाउनेछन्। प्रहरीको अनुसन्धान मात्रै भएकाले अरु कसैले दुरुपयोग गरेको प्रमाणसहित मुद्धा दायर गरेमा अदालत जाने ढोका भने बन्द भएको छैन। ‘अदालत जाने जो कोहीको पनि ढोका बन्द भएको छैन, प्रहरीको अनुसन्धानबाट आएको आधारमा मात्रै यो निर्णय गरिएको हो’, सरकारी वकिलको कार्यालय काठमाडौका प्रमुख न्यौपानेले भने। उच्च सरकारी वकिल कार्यालयले मुद्दा चलाउनुपर्ने लागेमा जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिने छ। महान्यायधिवक्ता कार्यालयले मुद्दा चलाउनुपर्ने वा जिल्ला र उच्च सरकारी वकिल कार्यालयको निर्णय सदर गर्नुपर्ने छ। ‘सेटिङमै प्रतिवेदन गएकाले यो प्रकरणलाई त्यतिकै थाती राख्ने संभावना रहेको छ, तर जो कोही अदालत गएमा यो प्रकरण फेरी व्यूतनेछ’, सरकारी वकिल कार्यालयकै एक अधिकारीले भने। प्रहरीले फागुन ३० गते राहदानी दुरुपयोग सम्बन्धी अनुसन्धा सिध्याएर सरकारी वकिलको कार्यालयलाई राय सहितको प्रतिवेदन दिएको थियो। सोही आधारमा तत्काल मुद्धा चलाउन आवश्यक प्रमाण नभएको भन्दै उच्च सरकारी वकिलको कार्यालयलाई सदरका लागि पठाउने निर्णय गरेको। सो निर्णयसहितको पत्र उच्चमा जान बाँकी रहेको र एकाध दिनमै उच्चमा पुग्ने बताइएको छ। विदेशी नागरिकता लिएको अवस्थामा पुरानै नेपाली नागरिकता लिएर नेपाली पासपोर्ट लिएको भन्दै उनीमाथी मुद्दा चलाउनु्पर्ने भन्दै काठमाडौं प्रहरीमा जाहेरी परेको थियो। त्यसकै आधारमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको थियो। सर्वोच्च आदलतले नागरिकता सम्बन्धी फैसला गर्दा राहदानी प्रकरणमा अनुसन्धान गर्न सक्ने वा छुट्टै मुद्धा चलाउनसक्ने संभावना सहितको आदेश दिएको थियो।
सडकमा लडेर अचेत भएका सुरक्षाकर्मीको मृत्यु भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका-९ स्थित भाटभटेनी सुपरमार्केट राधेराधे नजिक प्राणजल फास्टफुड रेष्टुरेण्टबाट फर्किने क्रममा एकजना सुरक्षाकर्मीको मृत्यु भएको छ । काठमाडौ नागार्जुन बस्ने  ४३ वर्षका  सशस्त्र प्रहरी बलका सहायक प्रहरी निरीक्षक तीर्थ  ढुंगेलको निधन भएको प्रहरीले जनाएको हो । आफैँ सडकमा लडी अचेत अवस्थामा स्थानीयले देखेर उपचारका लागि मध्यपुर अस्पताल पुर्‍याइएको थियो । उनको उपचारको क्रममा अस्पतालमै मृत्यु भएको भक्तपुर प्रहरी परिसले जनाएको छ । सो सम्बन्धमा अनुसन्धान भइरहेको परिसरका प्रमुख एसपी प्रजित केसीले जनाए ।
वाईवाईद्वारा कीर्तिपुरस्थित क्रिकेट रङ्गशालाको सरसफाई काठमाडौँ। आइसीसी लिग टू अन्तर्गतको बिहिबार त्रिवि क्रिकेट मैदानमा सम्पन्न अन्तिम खेलमा नेपालले युएईलाई डकवर्थ लुइस मेथडबाट ९ रनले पराजीत गरेर जिम्बावेमा हुने विश्वकप छनौट प्रतियोगिताका लागि स्थान पक्का गरेको छ। मैदान भित्र र बाहिर गरेर तीसौँ हजार दर्शकको उपस्थिती रहेको रोमान्चक खेलमा नेपालको लोकप्रिय उत्पादन वाईवाई तयारी चाउचाउ अत्याधिक रूपमा खपत भएको सीजी फुड्सले जनाएको छ। खेलका दौरान थुप्रिएको चाउचाउका खोल, पानीका बोत्तल लगायत अन्य फोहोरलाई वाईवाईले आज सफा गरेको हो। बनौँ आदर्श नागरिकू भन्ने नाराका साथ लामो समयदेखि सामाजिक क्रियाकलापहरू गर्दै आएको सिजी फुड्सले खेल मैदान र वरपर सरसफाई गरि आफ्नो सामाजिक दायित्त्व निर्वाह गरेको बताएको छ।
मूर्ती चोरी गरेको अभियोगमा २८ वर्षीय तामाङ पक्राउ काठमाडौँ। काठमाडौं महानगरपालिका-१५ स्वयम्भू नयाँबस्तीमा रहेको शिवशक्ति धाम मन्दिरबाट सत्य शक्ति देवी लेखिएको ढुंगाको मुर्ती चोरी गरेको अभियोगमा सोही महानगरपालिका-१७ ढल्कु पोडेटोल बस्ने दोलखा भिमसेनथान घर भएकी तेस्रो लिङ्गी २८ वर्षीया कुमारी तामाङलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ। गत माघ १६ गते उक्त मूर्ती चोरी भएको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले तामाङको कोठा तलासी गर्ने क्रममा सो मन्दिरबाट चोरी भएको सत्य शक्ति देवी लेखिएको ढुंगाको मुर्ती १ थान, विभिन्न देवी देवताको आकृती भएको ढुंगाको मूर्ती २४ थान, धातुको मूर्ती २९ थान र धातुको त्रिशुल १ थान फेला पारी उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
कौडा खेलिरहेको अवस्थामा ३ जना पक्राउ झापा। गौरादह नगरपालिका-१ गौरादह बजारस्थित घरमा कौडा खेलिरहेको अवस्थामा सोही नगरपालिका-३ बस्ने ३३ वर्षीय रुद्र भण्डारीसमेत ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ। उक्त घरमा कौडा खेलिरहेका छन् भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय गौरादहबाट खटिएको प्रहरीले उनीहरुलाई ४५ हजार ९ सय ४५ रुपैयाँ र १६ थान कौडासहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
सडक कालोपत्रमा ढिलासुस्ती गर्ने निर्माण कम्पनीलाई स्पष्टीकरण दमौली। पटक–पटक म्याद थप भएर पनि सडक कालोपत्रको काममा ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई पूर्वाधार कार्यालय तनहुँले स्पष्टीकरणको प्रक्रिया अगाडि बढाएको छ। तनहुँको भानु नगरपालिकास्थित भानुमार्ग र शुक्लागण्डकी नगरपालिकास्थित दुलेगौडा हर्कपुर सडकखण्डमा कालोपत्रको काममा ढिलासुस्ती गर्ने निर्माण कम्पनीलाई कार्यालयले कारबाहीस्वरुप स्पष्टीकरणको प्रक्रिया अगाडि बढाएको हो। दुवै सडक कालोपत्रको ठेक्का शङ्करमाली निर्माण सेवा काठमाडौँले पाएको थियो। विभिन्न मितिमा म्याद थप भएता पनि हालको मितिसम्म पटक–पटक पत्राचार र सरोकारवालासँग छलफल गर्दा पनि निर्माण व्यवसायीबाट कार्यप्रगति धेरै न्यून रही सन्तोषजनक नपाइएकाले उक्त कम्पनीलाई कारबाहीस्वरुप स्पष्टीकरण सोधिएको पूर्वाधार कार्यालयका प्रमुख दिनेश घिमिरेले जानकारी दिए। ठेक्का सम्झौताको शर्त र सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ को उपदफा (७) तथा सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १२८ र उक्त नियमावलीको नियम ११३ को उपनियम (६) मा भएको प्रावधान र बोलपत्र सम्झौताको टर्मिनेशन अफ कन्ट्रयाक्टका शर्तबमोजिम उक्त कम्पनीसँग चैत १० गतेभित्र स्पष्टीकरण माग गरिएको छ। “सोहीबमोजिम ठेक्का खारेज गरी कालोसूचीमा राख्नेसम्बन्धी कारबाही किन अगाडि नबढाउने ? सूचना प्रकाशित भएको मितिले सात दिनभित्र स्वयं कार्यालयमा उपस्थित भई स्पष्टीकरण पेस निर्माण व्यवसायीलाई पत्राचार गरिएको छ”, प्रमुख घिमिरेले भने। उनका अनुसार निर्माण कम्पनीबाट चित्तबुझ्दो जवाफ नआएमा ठेक्का खारेज गरी कालोसूचीमा राख्ने कारबाही अगाडि बढाइनेछ। भानुमार्ग–चन्द्रावती–पुलिमराङ कुन्छा कालीमाटी सडकको हालसम्मको प्रगति १४ प्रतिशतमात्रै रहेको छ। विसं २०७६ कात्तिक ४ गते ठेक्का लागेको उक्त सडकको भौतिक प्रगति तीन वर्षमा अत्यन्तै न्यून रहेको हो। निर्माण व्यवसायीको लापरवाहीका कारण दुईपटक म्याद थप हुँदासमेत काम नहुँदा सर्वसाधारणले सास्ती खेप्दै आएको स्थानीय अगुवा गलबहादुर गुरुङले बताए। “दश किलोमिटर सडकखण्ड कालोपत्र गर्ने काममा निर्माण व्यवसायीले लापरवाही गर्दै आएका छन्, पटक–पटक सम्बन्धित निकायमा ध्यानाकर्षण गराउँदा पनि काम अगाडि बढ्न सकेन”, उनले भने, “बाटोको काम नहुँदा सर्वसाधारणले वर्षामा हिलो र हिउँदमा धुलोको सास्ती व्यहोर्नुपरेको छ।” पूर्वाधार विकास कार्यालय तनहुँले मोटरमार्गको १० किमी खण्ड कालोपत्र, नाला निर्माण तथा ग्याविन जाली भर्नेलगायतका कामका लागि काठमाडौँस्थित शङ्करमाली कन्स्ट्रक्सनसँग सम्झौता गरेको थियो। निर्माण व्यवसायीको लापरवाहीका कारण मोटरमार्गको काम सुस्त रहेको स्थानीयवासी रहेका जिल्ला समन्वय समिति तनहुँका पूर्वसदस्य गुरुङले गुनासो गरे। उक्त मोटरमार्ग कालोपत्रका लागि पूर्वाधार कार्यालयले रु २३ करोड दुई लाख ८० हजारमा ठेक्का सम्झौता गरेको थियो। कार्यालयले निर्माण कम्पनीलाई रु दुई करोड ६८ लाख निकासा गरिसकेको छ। समयमा काम सम्पन्न नभएपछि विसं २०८० असार १४ गतेसम्म म्याद थप भएको कार्यालयले जनाएको छ। दश किलोमिटर सडकखण्ड कालोपत्र, नाला निर्माण तथा ग्याविङ जाली भने लगायतका काम विसं २०७८ माघ १५ गतेभित्र सम्पन्न गर्न विसं २०७६ कात्तिक ४ गते सम्झौता भएको थियो। विसं २०४९ मा चन्द्रावतीबाट पोखरीछापसम्म सडकको ट्रयाक खोली सवारीसाधन सञ्चालन हुँदै आएको छ। वर्षात्का बेला सडक हिलाम्मे हुँदा सर्वसाधारणले सास्ती खेप्दै आएका छन्। सडक कालोपत्र गर्ने काममा ढिलासुस्ती हुँदा यस भेगका स्थानीयवासीले वर्षात्मा सास्ती खेप्दै आएका छन्। निर्माण व्यवसायीको लापरवाहीका कारण वर्षात्मा हिलो र हिउँदमा धुलोले स्थानीयवासी मर्कामा पर्दै आएको भानु नगरपालिका–१३ का वडाध्यक्ष कृष्ण अधिकारीले बताए। दुलेगौडा–हर्कपुर सडकको १०.१८ किलोमिटर सडक कालोपत्रका लागि विसं २०७६ कात्तिक ४ गते सम्झौता भएको थियो। उक्त खण्डको प्रगति हालसम्म ३१.५४ प्रतिशत छ। उक्त खण्डको म्याद अन्तिम पटकका लागि विसं २०८० जेठ १४ गतेसम्म थप भएको छ। यस अगाडि उक्त खण्डको दुईपटक म्याद थप भइसकेको छ। उक्त खण्ड कालोपत्रका लागि रु २५ करोड १० लाख ६० हजारमा सम्झौता भएको थियो। शुक्लागण्डकी नगरपालिका, म्याग्दे गाउँपालिका हुँदै व्यास नगरपालिकासँग जोडिने उक्त खण्डको दूरी २३ किलोमिटर छ। पहिलो चरणमा १० किलोमिटर सडक कालोपत्रका लागि ठेक्का सम्झौता भएको थियो। ट्रयाक खुलेको २४ वर्षपछि कालोपत्र सुरु हुँदा स्थानीयवासी खुसी भएका थिए। तर कामको प्रगति नबढ्दा स्थानीवासी चिन्तित छन्।
विदेशमा ठक्करः स्वदेशमा अवसर ढोरपाटन। कुँडुले फेँदी। समथर भू–भाग । चारैतिर हरियाली गहुँ बालीले ढाकिएका फाँटहरू। त्यही फाँटको मध्यभागमा सेताम्य प्लास्टिक टनेलभित्र लटरम्म फलेका गोलभेँडा, बन्दा र काउली । यो तरकारी खेती यहाँका युवाले भने गरेका होइनन्। चार वर्ष अगाडि पर्वत महाशिला गाउँपालिका–४ का प्रकाश पौडेल र जैमिनीका गोविन्दप्रसाद सुवेदीले सुरु गरेको तरकारी खेती हो। कुँडुलेका अधिकांश युवाशक्ति विदेशमा छन्। यहाँ खेतीयोग्य जमिनलाई पौडेल र सुवेदीले व्यावसायिकरूपमा प्रयोग गरेका छन्। युवा विदेश पलायन भएपछि कुँडुलेका गाउँघर उराठिलो बनेका छन्। खेतीयोग्य जमिन वनमाराले ढाकेको छ। गाउँमा अहिले वृद्धवृद्धा, महिला र बालबालिकामात्रै छन्। पौडेल र सुवेदी ज्वाइँ–जेठान हुन्। पौडेल पनि विदेशमा हण्डर खाएर फर्किएपछि व्यावसायिक तरकारी खेती गर्ने सोच आएको हो। तेत्तीस वर्षीय प्रकाशसँग तीन वर्ष अफगानिस्तान र तीन वर्ष मलेसियामा पसिना बगाएको अनुभव छ। गोविन्द भने अहिलेसम्म विदेश जाएका छैनन्। पौडेलसँग विदेशमा भोगेको भोगाइको फेहरिस्त छ। विदेशमा २० घण्टासम्म कडा परिश्रम गर्दासमेत आफूले सोचेजस्तो कमाइ गर्न नसकेपछि स्वदेश फर्किनुभएका पौडेललाई अहिले तरकारी खेतीबाट सन्तुष्टि मिलेको छ। चार वर्ष अगाडि ज्वाइँ–जेठानको संयुक्त लगानीबाट सुरु भएको तरकारी खेतीले अहिले खुसीसँगै आम्दानी पनि दिन थालेको छ। रु पाँच लाखबाट सुरु गरेको व्यवसायमा हालसम्म रु ११ लाख बढी लगानी गरिसकेको पौडेलको भनाइ छ। कृषिसम्बन्धी तालिम लिएर व्यवसाय सुरु गरेका पौडेल र सुवेदीलाई सुरुआती चरणबाटै सफलता हात पर्न थालेको छ। परिवारसँगै पौडेल बिहानदेखि बेलुकासम्म बारीमै काम गर्छन्। तरकारीका बीच–बीचमा उम्रेका झारपात उखेल्नेदेखि भर्खर फल्न थालेका तरकारीलाई झाल हाल्ने र बारी खन्ने काम उनीहरूको दैनिकी हो। घर पर्वतमा भए पनि कुँडुलेमा जग्गा भाडामा लिएर व्यवसाय सुरु गरेका उनीहरूले जग्गा भाडामात्रै वार्षिक करिब एक लाख तिर्ने बताउँछन्। ज्वाइँ–जेठानले ‘मुक्तिनाथ एकीकृत कृषि फार्म’ दर्ता गरी व्यवसाय अघि बढाएका छन्। व्यवसाय फस्टाउँदै गएपछि पौडेल र सुवेदीसँगै उनका परिवार पनि खुसी भएका छन्। पौडेल भन्छन्, “सुरुमा ठूलो पैसा कमाउने आशले विदेश गइयो, तर विदेशमा जति दुःख, सङ्घर्ष गर्ने हो भने यहाँ पनि राम्रो कमाइ गर्न सकिन्छ, अहिले यहाँ त त्यसरी मरिमेटी काम गर्न परेको छैन, सीमित समय काम गरे पुग्छ, विदेशमा निकै दुःख गरियो, न बिरामी हुँदा उपचार, न भोक लाग्दा समयमै खाना, अहिले आफ्नै परिवारसँगै काम गर्दा रमाइलो लाग्छ।” पौडेललाई विदेशमा ६ वर्ष बिताएकामा अहिले पश्चताप लाग्छ। उनी स्वदेशमै व्यवसाय तथा अन्य काम गर्दा देश परिवर्तनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गर्छन्। विदेशमा बेच्ने श्रम आफ्नो गाउँठाउँमै गर्न सके समाज परिवर्तनसँगै आफ्नो परिवारको पनि जीविकोपार्जनमा सहजता आउने उनको भनाइ छ । व्यवसायलाई थप प्रवद्र्धनका लागि लगानी बढाइराखेको उनी बताउँछन्। कृषकका लागि धेरै अनुदान तथा कार्यक्रम आए पनि वास्तविक कृषकले नपाएको गोविन्दप्रसाद बताउँछन्। अहिलेसम्म कृषि ज्ञान केन्द्रले रु एक लाख ५० हजारको टेनलबाहेक सहयोग नभएको भन्दै नगरपालिकाबाट कुनै पनि सहयोग पाउन नसकेको गुनासो गर्नुहुन्छ । कृषकलाई प्राविधिक, समय–समयमा तालिम, मल, उन्नत जातका बीउबिजन र किटनाशक औषधि उलब्ध गराउन सके जिल्लालाई तरकारीमा आत्मनिर्भर बनाउन सकिने सुवेदीको भनाइ छ। “यहाँ कृषिमा ठूलो सम्भावना छ, अहिले हामीहरूले सा–सानो फार्म चलाएर पनि जीविकोपार्जन गरेका छौँ, खाडी मुलुकमा जानुपरेको छैन, साउदी, कतारमा कमाउने दाम यही पनि कमाइन्छ”, उनले भने, “तर राज्यले दिने सेवा सुविधा निर्वाहमुखी कृषकलाई र व्यावसायिक कृषक एउटै भएको छ, राज्यले व्यावसायिक कृषकलाई प्राथमिकता दिनुपर्छ, अहिले अनुदान पाउनेमा व्यावसायिक कृषकभन्दा बढी निर्वाहमुखी कृषक छन्।” सुवेदीले बाहिरबाट विषादी प्रयोग भएर आउने तरकारीले गर्दा आफूहरूले उत्पादन गरेका तरकारीले बजार नपाउने समस्या भएको बताए। बजार पाए पनि निकै कम मूल्यमा बेच्न बाध्य भएको उनले सुनाए। उनहरूले आधुनिकतालाई पनि आत्मसाथ गर्दै, नयाँ प्रविधिबाट सिँचाइ र तरकारी खेतीको सुरुआत गरेका छन्। बारीमा आधुनिक प्रविधिको थोपा सिँचाइमार्फत तरकारीमा पानी लगाउने र मिनी टेलरमार्फत बारी खनजोत गर्दै आएका छन्। उनीहरूले मल, बीउलगायतका आवश्यक सामग्री बाहिरबाट लिएर तरकारीका बिरुवा आफैं उत्पादन गर्ने गर्छन्। पौडेल र सुवेदीले आम्दानी गरेको अधिकांश रकम व्यवसायमै लगाउँदै आएको बताउँछन्। लागानी गरेर पनि वार्षिक रु तीन लाखभन्दा बढी नाफा कमाउँदै आएको उनहरूको भनाइ छ। व्यवसायलाई थप व्यवस्थित र ठूलो बनाउने योजनामा रहेका उनीहरूले आगमी वर्षमा अहिलेको भन्दा दोब्बर आम्दानी गर्ने गरी योजना बनाएका छन्। विदेशमा हण्डर खाएर फर्किएका युवा बागलुङमा धेरै छन् तर, पौडेल र सुवेदी जसरी व्यवसाय कमैले मात्रै गरेका छन्। कृषि ज्ञान केन्द्र बागलुङमा हरेक वर्ष करोडौँका बजेट आउने गरेका छन्। त्यो बजेटलाई कृषकसम्म सहजरूपमा पुर्‍याउने गरी काम गरिरहेको ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईले बताए। जिल्लामा पछिल्लो समय व्यावसायिक कृषिमा लाग्ने युवाहरू बढेको भन्दै उनीहरूलाई आधुनिकतासँगै जोड्न थालेको उनी बताउँछन्। “कृषकका हरेक समस्यालाई समाधान गर्दै जाने चरणमा छौँ, सबैका समस्या एकैपटक समाधान हुनसकेका छैनन्, अहिले जिल्लामा कृषकले उत्पादन गर्ने तरकारीहरूले उचित बजार र मूल्य पाउन नसकेको सत्य हो”, उनले भने, “जिल्लामा खपत भइरहेको छ, टाढा–टाढा पुर्‍याउनुपरेको छैन, बाहिरबाट आउने तरकारीलाई रोक्न सक्ने हो भने यहाँका कृषकलाई ठूलो राहत मिल्छ।”- रासस
१७०० वर्ष पुरानो असन बजारको रोमाञ्चक कथा (फोटोसहित) काठमाडाैं। असन बजार काठमाडौंको मुटुमा अवस्थित ऐतिहासिक बजार हो। यो काठमाडौंको सबैभन्दा पुरानो बजार हो। करिब १७०० वर्ष पहिले लिच्छवी कालमा यसको विकास भएको मानिन्छ धेरै समय देखि यस ऐतिहासिक बजारमा पसल चलाउदै बसेकी ६९ बर्षको हरिमाया श्रेष्ठले डिसी नेपाललाई असन बजारको जन्मसँग जोडिएको सबैभन्दा प्रसिद्ध कथा सुनाइन्। धेरै पहिलेको कथा हो, भक्तपुरमा बस्ने एक किसान चामलको बोरा बोकेर असनचोकमा आएका थिए। त्यसबेला असन जंगल जस्तै थियो। किसान आफूले लेराएको चामल बेच्न चाहन्थे, त्यसैले दिनभर भुइँमा बसे। साँझसम्म बस्दा पनि कुनै ग्राहक नभेटिएपछि उनले घर फर्किने निर्णय गरे। तर चामलको बोरा उचाल्न खोज्दा भूइँमा अड्केको अड्कै भयो। धेरै कोसिस गर्दा पनि चामलको बोरा जमिनबाट उठाउनै मिलेन। उनि निरास भएर चामलको बोरा त्यहीं छोडेर घर फर्के। किसन भोलिपल्ट बिहान फेरि असन आए। चामलको बोरा त्यहीं ठाउँमा जस्ताको तस्तै थियो। कसैले पनि बोरालाई चलाएको रहेनछ। उनलाई केही प्रकारको दैविक शक्तिको अनुभव भयो। दैविक शक्तिको नाममा उनले आफ्नो बोरको अलिकति चामल झिकेर त्यस स्थानमा चढाए अनि व्यापार गर्न बसे। त्यस दिन राम्रो ब्यापार भयो। उनी हरेक दिन व्यापार गर्न असन आउँथे। हरेक दिन आफूले लेराएको अनाज अलिकति चढाउँथे। बिस्तारै किसान अनि ब्यापारीहरु आफ्नो अनाज, नुन, तेल, मसला, सक्खर लिएर त्यस ठाउँमा आउनथाले। ब्यापारी अनि ग्राहक सबैले आफूले बेचेको र किनेको खानेकुराको थोरै भाग भगवानलाई भनेर चढाउने गर्थे। केही समयपछि असन जंगलबाट चोक अनि चोकबाट बजारमा विकास भयो। अन्न भगवानलाई चढाउने पनि सांस्कृतिक अभ्यास बन्यो। ‘पहिलो दिन किसानले चामलको बोरा छोडेको ठाउँमा खाद्यान्नकी देवी अन्नपूर्णको सम्मानमा मन्दिर बनाइयो थियो। अहिले पनि धेरै व्यापारी र क्रेताहरूले अन्नपूर्ण देवतालाई आफ्नो खानाको अंश अर्पण गर्छन्,” ७२ वर्षीय मोहनकृष्ण श्रेष्ठले भने। लिच्छवीदेखि मल्ल र आजसम्म असन बजारले लिछ्छवी र प्रसिद्ध मल्ल युगबाट यात्रा गर्दै आएको ऐतिहासिक इतिहास छ। आजको दिनमा, यो रमाइलो बजारले विभिन्न प्रकारका उत्पादनहरू विविधतापूर्ण प्रदान गर्छ। विभिन्न थरिको स्वदेशी तथा विदेशी मसला र जडिबुटीहरू, सुन्दर कपडाहरू, गहनाहरू, आधुनिक इलेक्ट्रोनिक्स, र परम्परागत हस्तकलाका सामानहरु बेच्न राखिन्छ। समय बितिसक्दा पनि, असन बजार अझै पनि आफ्नो अद्वितीय आकर्षण छ र काठमाडौंको संस्कृति र अर्थतन्त्रको महत्त्वपूर्ण केन्द्र बनेको छ। यसको जीवन्त सडकहरू, रोमाञ्चक वातावरण र समृद्ध इतिहासको अनुभव गर्दा पर्यटकहरुले ऐतिहासिक काठमाडौँको कल्पना गर्ने गर्छन्। सबै तस्वीर : सिमाेन पाैडेल/ डिसी नेपाल
योजनाबद्ध विकासको लागि साल्पासिलिछोले पञ्चवर्षे योजना निर्माण गर्दै भोजपुर। भौगोलिक रुपमा विकट मानिने भोजपुरको साल्पासिलिछो गाउँपालिकाले सञ्चालन गरिने योजना तथा कार्यक्रमलाई प्रभावकारी बनाउन पञ्चवर्षे योजना निर्माण गर्ने भएको छ। सञ्चालन हुने कार्यक्रमलाई सफल बनाएर सवै गाउँपालिकाबासीको विकासमा साझा धाराणा बनाउने उद्धेश्यले कार्यक्रमको थालनी गरेको हो। स्थानीय बुद्धीजिवी, समाजसेवी तथा विभिन्न क्षेत्रका विज्ञबाट आएका सल्लाह सुझाव तथा परामर्शको आधारमा यहाँको आवधिक पञ्चबर्षे योजना निर्माण गरिने गाउँपालिका अध्यक्ष दौलथ कुलुङले जानकारी दिए। गाउँपालिकाका सवै क्षेत्रका विज्ञ नागरिकको राय लिएपछि गाउँपालिकाको योजना बैंक तयार हुने उनको भनाइ छ। ‘गाउँपालिकाका कामहरुलाई प्रभावकारीसँगै जनमुखी बनाउन दिर्घकालिन योजनाको आवश्यकता छ’। अध्यक्ष कुलुङले भने, ‘यहाँको विकासमा सबैको साझा धाराणा निर्माण गर्न हामी लागि परेका छौँ। खास गरेर हामीले यो गाउँपालिकालाई अबको पाँच वर्षमा कस्तो बनाउने भन्ने खाका तयार गरेर काममा जुट्ने योजनामा छौं ।’ भौगोलिक रुपमा विकट रहेपनि साल्पासिलिछो गाउँपालिकामा प्राकृतिक श्रोतको उपलब्धता राम्रो भएपनि यसको सदुपयोग हुन नसकेको अध्यक्ष कुलुङको भनाइ छ। यहाँको सडक, विद्युत्, स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन लगाएत क्षेत्रको विकासलाई कसरी अघि बढाउने भन्ने विषयमा भावी योजना तयार गर्ने अध्यक्ष कुलुङले बताए । ‘‘भौगोलिक रुपमा हाम्रो गाउँपालिका विकट नै छ’,  उनले भने, ‘यहाँका श्रोत साधनको अधिकतम उपयोग गरेर गाउँपालिकालाई समृद्ध बनाउन अहिले हामीले सञ्चालन गरेको अभियानले टेवा पुग्ने हाम्रो लक्ष्य छ।’ पञ्चवर्षे आवधिक योजना निर्माण गर्न अहिले यहाँको सम्पूर्ण छ ओटा नै वडामा पुगेर प्रारम्भिक सुझाव तथा तथ्याङ संकलनको काम भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधबकुमार अधिकारीले बताए। सम्पूर्ण क्षेत्रका नागरिकबाट आएको सुझाबको आधारमा गाउँपालिकाका योजनाकोसमेत प्राथमिकीकरण गरिने प्रशासकीय अधिकृत अधिकारीको भनाइ छ । ‘हामी गाउँपालिकाको कामलाई गुणात्मक र परिणाममुखी बनाउन जुटेका छौँ’ प्रशासकीय अधिकृत अधिकारीले भने,‘ भावी योजनालाई कसरी सञ्चालन गर्दा स्थानीयको आवश्यकता र अपेक्षा पुरा गर्न सकिन्छ भन्नको लागि सुझाब लिन काम भईरहेको छ । यसले आगामी दिनको बजेट निर्माणमासमेत टेवा पुग्छ ।’ गाउँपालिकाको कामलाई सहज र सरल बनाउनको लागि योजनाबद्ध विकासमा ध्यान दिएको प्रशासकीय अधिकृत अधिकारीको भनाइ छ । यहाँ सञ्चालनमा रहेका योजनालाई आगामी बैशाखसम्ममा सम्पन्न गराउने लक्ष्यसहित काम भईरहेको उहाँले बताए ‘अन्य स्थानीय तहको तुलनामा यो गाउँपालिका विकट नै छ,’उनले भने,‘‘वर्षात लानेपछि सदरमुकामसम्मको यातायात सेवा नै बन्द हुन्छ । भौगोलिक रुपमा विकट भएकाले कर्मचारी बस्न नमान्ने समस्या पनि छ । तर पनि यहाँको उपलब्ध श्रोतको परिचालन गरेर सेवालाई सरल बनाएका छौँ ।’ सडकलाई बाह्रै महिना सञ्चालनमा ल्याउनको लागि काम भईरहेको गाउँपालिकाले जनाएको छ । त्यस्तै स्थानीयमा रहेको विद्युत्को समस्यालाई ध्यानमा राखेर विद्युत् विस्तारको काम पनि भइरहेको बताइएको छ ।
आजको मौसमः देशभर पानी पर्ने संभावना काठमाडौं। हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ भने देशको पहाडी भू-भागका केही स्थानहरू तथा तराई भू-भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिकरहल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। उता राति भने देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा तथा तराई भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक र हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको पहाडी भू-भागका केही स्थानहरू तथा तराई भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन, चट्याङ्ग र हावाहुरीसहित क्षणिक र हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन, चट्याङ्ग र हावा हुरीबाट क्षति हुन नदिन आवश्यक तयारी गरी सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
पत्रकारको न्यूनतम पारिश्रमिक दोब्बर बढाउन माग काठमाडौं। नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाले श्रमजीवी पत्रकारको हाल कायम रहेको न्यूनतम पारिश्रमिक अत्यन्त न्यून भएको भन्दै दोब्बर बनाउन सरकारसँग माग गरेको छ। महासङ्घको दुई दिनसम्म बसेको बैठकपछि आज घोषणापत्र जारी गर्दै सञ्चारकर्मीलाई दैनिक जीवन निर्वाह गर्नसमेत असहज भएको भन्दै हाल पाइरहेको पारिश्रमिकलाई दोब्बर बनाउनुपर्ने माग गरेको हो। “साना तथा स्वरोजगारमूलक सञ्चारमाध्यमको अवस्था कमजोर हुँदै गएको अवस्थामा हाल प्रदान गरिँदै आएको लोककल्याणकारी विज्ञापनवापतको रकमलाई दोब्बर बनाउन महासङ्घ काठमाडौँ शाखा यस घोषणपत्रमार्फत सरकारसँग विशेष माग गर्दछ”, घोषणापत्रमा भनिएको छ। महासङ्घले अनलाइन सञ्चारमाध्यमलाई पनि लोकल्याणकारी विज्ञापन प्रदान गर्ने भनिए पनि कार्यविधि अभावका कारण हालसम्म कार्यान्वयन हुन नसकेको बताउँदै कार्यविधि बनाएर कार्यान्वयनमा ल्याउन अनुरोध पनि गरेको छ। बैठकले सरकारबाट साना तथा स्वरोजगारमूलक सञ्चारमाध्यमलाई प्रदान गरिँदै आएको सहुलियतपूर्ण ऋणलाई रू १० लाखबाट बढाएर रू २५ लाख बनाउनुपर्नेमा जोड दिएको छ। सरकारले पत्रकारका लागि लागू गरेको दुर्घटना बीमाको प्रक्रियालाई सरलीकरण गर्नुपर्ने र त्यसलाई बीमामा रुपान्तरण गर्नुपर्ने महासङ्घको भनाइ छ।
तिलगङ्गामा गाडीको ठक्करबाट वृद्धाको मृत्यु काठमाडौँ । काठमाडौँ महानगरपालिका–९ तिलगङ्गामा ना३ख ६०६४ नंको गाडीको ठक्करबाट आज पैदलयात्रीको मृत्यु भएको छ । गाडीको ठक्करबाट गम्भीर घाइते सिन्धुपाल्चोक जलवीरे गाउँपालिका–९ घर भई हाल काठमाडौँको सिनामङ्गल डेरा गरी बस्ने ७५ वर्षीया चन्द्रमाया बस्नेतको काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा उपचारका क्रममा मृत्यु भएको हो । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको प्रहरी वृत्त गौलाशाका प्रहरी नायब उपरीक्षक सञ्जीवबाबु खड्काले जानकारी दिए । यसैबीच काठमाडौँ महानगरपालिका–१६ सोह्रखुट्टेचोक नजिकै सडकपेटीमा दोलखा चरिकोट घर भएकी ५५ वर्षीया गौरी भन्ने कमला गोले मृतावस्थामा फेला परेकी छिन् । मृत्युको कारण नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । काठमाडौैँको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट अवैध लागुऔषध खैरो हेरोइनसहित बर्दिया मधुवन गाउँपालिका–६ बस्ने २१ वर्षीय अर्जुन खत्रीलाई आज प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले बर्दियाबाट काठमाडौँ आउँदै गरेको भे१ख ३५३१ नंको बस जाँच गर्ने क्रममा उनलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।
त्रिचन्द्रमा विद्यार्थी कुटपिट गर्नेलाई कारबाही गर्न नेविसङ्घको माग काठमाडौं। नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले त्रिचन्द्र क्याम्पस हाताभित्र विद्यार्थीलाई कुटपिट गर्नेलाई पक्राउ गरी कारबाही गर्न माग गरेको छ। नेविसङ्घका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले आज एक विज्ञीप्त जारी गरी स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनलाई विथोल्ने गरी विद्यार्थी कुटपिट गरिएको भन्दै दोषीलाई पक्राउ गरी कारबाही गर्न माग गरेका हुन्। “लामो समयपछि देशभर हर्षोल्लासका साथ सम्पन्न हुन गइरहेको स्ववियु निर्वाचनमा आज नेपालको सबैभन्दा पुरानो क्याम्पस त्रिचन्द्रमा स्ववियु निर्वाचनका लागि खटिएका निर्वाचन अधिकृतलाई धरपकड र लखेट्ने जस्ता अमर्यादित र निन्दनीय घटनाप्रति नेविसङ्घ खेद प्रकट गर्दछ”, नेविसङ्घद्वारा जारी विज्ञीप्तमा भनिएको छ। त्रिचन्द्रमा विवेक बानियाँ, सुन्दर बडाल, यसमान विष्ट, अर्जुन पौडेल, केशरजङ्ग बम, महेश खनाल, विनोद देउवा, रोहित चौधरी, सुरेन्द्र विश्वकर्मा, सुवास खड्का, गोविन्द कोइराला, सृष्टि सुवेदी, आश्विन अधिकारीलगायत विद्यार्थी घाइते भएको नेविसङ्घले जनाएको छ। नेविसङ्घ स्ववियु निर्वाचन केन्द्रीय प्रचारप्रसार समितिका संयोजक डा सन्तोष उपाध्यायले अपराधिक घटनामा सङ्लग्न व्यक्ति माथि छानबिन गरी यथाशीघ्र कानुनी कारबाहीको माग गरेका छन्। उनले स्ववियु निर्वाचन विथोल्नका लागि विभिन्न विद्यार्थी सङ्गठन लागेको आरोप लगाए। नेविसङ्घले भोलि हुने स्ववियु निर्वाचनमा अमर्यादित क्रियाकलाप नगर्न र मतदान गर्न आउने विद्यार्थीलाई सुरक्षाको प्रत्याभूतिको दिलाउन गृह मन्त्रालयको ध्यानाकर्षण गरेको छ।
रोजिनाले घरमा नै पाइन् नागरिकता त्रिशूली। नुवाकोटको बेलकोटगढी नगरपालिका–३ निवासी पूर्णरूपमा शारीरिक अशक्त भएकी रोजिना बजगाईँले आज घरमा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरिन्। शारीरिकरूपमा अशक्त व्यक्तिले पाउने सामाजिक सुरक्षा भत्तावापतको रकम नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्ने उमेर पुगेपछि नागरिकता अनिवार्य भएकाले उक्त सुविधाबाट बञ्चित हुन नदिन नुवाकोट प्रशासनले घरमै पुगेर नागकिरताको प्रमाणपत्र उपलब्ध गराएको हो। विसं २०६२ मङ्सिर ५ गते जन्मिएकी बजगाईँलाई नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले घरमा पुगेर नागरिकता प्रदान गरेसँगै उनले मासिक रु चार हजार पाउँदै आएको सुविधा पाउन सहज हुने उनको बुवा कान्छो बजगाईँले बताइन्। उनका अनुसार जन्मजात नै शारीरिकरूपमा पूर्ण अशक्त भएका रोजिनालाई घरको पिँढीमा बनाइएको काठको घेराबारमा राखेर पालनपोषण गराइने गरिएको छ।
६ वर्षदेखि साङ्लोमा बाँधेर रााखिएका युवकको गरियो उद्धार उदयपुर। उपचार खर्चको अभावको कारण बिगत ६ वर्षदेखि साङ्लोमा बाधेर रााखिएका उदयपुरका एक युवकको त्रियुगा नगरपालिकाले उद्धार गरेको छ। त्रियुगा नगरपालिका वडा नं. ६, लालपत्ताका मानसिक विरामी २१ वर्षीय राम बहादुर परियारलाई त्रियुगा नगरपालिकाले उद्दार गरेर उपचार गर्न हेटौडा पठाएको हो। त्रियुगा नगरपालिकाका उपप्रमुख महेश्वरी राई र समाजसेवी भागवत राउतको नेतृत्वमा विरामीको उद्दार गरि उपचारार्थ हेटौडा स्थित मानव सेवा आश्रम पठाएको छ। रामको मानसिक सन्तुलन गुमेपछि दिदी हस्तमाया बि.क.को घरमा साङ्ग्लोले बाधेर बस्न बाध्य थिए। त्रियुगा नगरपालिकाले बिरामीलाई मानव सेवा आश्रम हेटौडा पुयाउन सवारी साधनको व्यवस्था गर्नुको साथै मानव सेवा आश्रममा सहजिकरण गरेर उपचारमा सहयोग गर्ने व्यवस्था मिलाईएको नगरपालिकाका उपप्रमुख महेश्वरी राईले जानकारी दिए। त्रियुगा नगरपालिका भित्र कोही पनि मानसिक विरामी उपचार अभावमा बस्नु नपरोस भनेर नगरपालिकाले विरामीहरुको तथ्यांक संकलन गरेर नियमित उद्दार गर्ने कार्ययोजना बनाएको त्रियुगा नगरपालिकाले जनाएको छ।
बेपत्ता भाइले ४० बर्षपछि दाजुलाई फोन गरेपछि… महेन्द्रनगर। परिवारबाट सम्पर्कविहीन भएको चार दशकपछि कुनै व्यक्ति सम्पर्कमा आयोभन्दा पत्यार नलाग्न सक्छ, तर यो यथार्थमा साबित भइदिँदा कञ्चनपुरको महेन्द्रनगरका रामदत्त कलौनीको घरमा खुसीको सीमा छैन। पूख्र्यौली घर बैतडीको दोगडा केदार गाउँपालिकाको रिम भएका परमानन्द कलौनी बेपत्ता भएको चार दशकपछि दाजु रामदत्त कलौनीको सम्पर्कमा आएका छन्। विसं २०३८ पछि परिवारबाट टाढिएका परमानन्द डडेल्धुराको आलितालका हरिसिंह मडैमार्फत महेन्द्रनगरमा रहेका दाजु रामदत्तको सम्पर्कमा आएका हुन्। “घरबाट २०३८ सालमा निस्कदा त्यो बेला डडेल्धुरामा सडक बनाउने काममा मजदुरी गथ्र्यो भन्ने सुनिएको थियो”, चार दाजुभाइमध्येका जेठा रामदत्तले रासससित भने, “माइलो परमानन्द जोगबुढा हुँदै डोटीका स्थानीय युवासित भारत पसेको कुराकानीका क्रममा खुल्यो।” बैतडीबाट २०५० सालको सेरोफेरोमा महेन्द्रनगर बसाइँ सरेका रामदत्तले भाइ भेटिनेमा आशा नै मारिसकेका थिए। तर बिहीबार साँझ आलितालका मडैमार्फत बैंग्लोरमै घरजम गरेर बसेका भाइसित टेलिफोन सम्पर्क भएको बताए। “आलितालका कांग्रेस नेता जनक कलौनी र हरि मडै साथी रहछेन्”, उनले भने, “मडैजीलाई बैंग्लोरमा डेढ दशकअघि देखि मेरै भाइले जागिर लगाएको रहेछ।” बैंग्लोरमा कार्र्यरत सेक्युरिटी कम्पनीमा परमानन्द ‘प्रेम शर्मा’ का नामले परिचित रहेछन्। “परमानन्द र हरिबीच पुख्र्यौली घरका बारेमा कुराकानीका क्रममा मेरो भाइको पत्ता लाग्यो”, खुसीले गद्गद् भएका रामदत्तले भने, “यसबीचमा भारतका धेरै ठाउँ तथा काठमाडाँैसम्म खोजे, पत्ता लागेन।” भाइसित बिहीबार र शुक्रबार बिहान टेलिफोन कुराकानीपछि बैंग्लोरबाट फोटोसमेत पठाइदिएको उनी बताउँछन्। “बैंग्लोरमा नयाँ घर बनाइरहेकाले घरको काम सकिएपछि महेन्द्रनगर आउने र पहाड जाने दाजु÷भाइको सल्लाह भयो।” रामदत्तले भने, “बुबा÷आमाको हालखबर सोध्थ्यो, मैले निधन भइसकेको सुनाएँ।” मडैसित बैतडीको रिम घर भन्ने परिचय दिएपछि परमानन्दको घरपरिवारसित सम्पर्क हुन पुगेको हो। “भाइको घरजम भएर छोरीबाट नातिनी पनि भइसकेछ”, रामदत्तले भने, “ज्योतिषकहाँ हेराउन जाँदा पनि जिउँदै छ भन्थे।”
कञ्चनपुरमा लागुऔषधको जालो भत्काउँदै प्रहरी, सात सय १३ पक्राउ महेन्द्रनगर । कञ्चनपुर प्रहरीले लागुऔषध ओसारपसार, प्रयोग र दुव्र्यसनमा रहेका सात सय १३ जनालाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याएको छ । सुदूरपश्चिम प्रदेशमै लागुऔषध कारोबारको अखडा बन्दै गएको कञ्चनपुरमा प्रहरीले पनि न्यूनीकरण र संलग्नता भएका व्यक्तिलाई कारबाहीका लागि जिल्लाभर सक्रियता देखाएको छ । संलग्नलाई कारबाहीदेखि युवापुस्ता, विद्यार्थी र अभिभावकलाई लागुऔषध नियन्त्रणका लागि सचेतना कक्षासमेत यहाँका सबै पालिकामा सञ्चालन गरिरहेको प्रहरीले खुला सीमानाका भएका कारण लागुऔषधको कारोबार बढेको औँल्याएको छ । आर्थिक वर्ष २०७६/७७ यता मात्रै लागुऔषध मुद्दामा प्रहरीले सात १३ जनालाई नियन्त्रणमा लिइ कारबाही प्रक्रियामा ल्याएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी निरीक्षक भरतराज गिरीले जिल्लाभरि नै लागुऔषध दुव्र्यसन नियन्त्रणका लागि प्रहरीले स्थानीय तह र सरोकारवाला निकायसँग समन्वय गरेर अघि बढिरहेको बताए । “लागुऔषध ओसारपसार र दुव्र्यसनमा संलग्नलाई प्रहरीले एकपछि अर्को गरी दिनहुँजसो कारबाहीको दायरामा ल्याइरहेको छ”, प्रहरी निरीक्षक गिरीले भने, “यसको नियन्त्रणका लागि सीमानाकादेखि सबैतिर विभिन्न युनिटमा प्रहरी परिचालित छ ।” उनले प्रहरी सक्रियताकै कारण ओसारपसारमा संलग्न पक्राउ पर्नेक्रम पनि बढेको बताए । झन्डै एक दशकअघि यहाँ चरेशलगायतका लागुऔषधको कारोबार हुने गरेका घटना बाहिरिने गरेको भए पनि पछिल्ला वर्षमा खैरो हेरोइनको कारोबार ह्वात्तै बढेको छ । प्रहरीले दिएको जानकारीअनुसार चालु आवमा यहाँ लागुऔषध मुद्दामा एक सय ५७ जना पक्राउ परेका छन् । त्यसमा एक सय ४८ नेपाली र नौ भारतीय नागरिक रहेका छन् । चालु आवको फागुन मसान्तसम्म लागुऔषधसम्बन्धी ८८ मुद्दा दर्ता भएका छन् । प्रहरीले सो अवधिमा २६ किलो चरेश, चार सय १३ दशमलव ६० ग्राम खैरो हेरोइन, नाइट्राभेट, फेनारगन, एम्पुल, रेक्सोजेसिक, डाइजापाम लगायतका लागुऔषध बरामद गरेको छ । त्यसैगरी प्रहरीले गत आव २०७८÷७९ मा लागुऔषधसम्बन्धी एक सय ४३ मुद्दा दर्ता गरेको थियो । त्यसमा दुई सय २६ नेपाली र १३ भारतीय नागरिक गरी दुई सय ३९ जनालाई पक्राउ गरिएको थियो । गत आवमा प्रहरीले यहाँ ३३ किलो नौ सय ८५ ग्राम चरेश, पाँच सय ८० दशमलव शून्य ६० ग्राम खैरो हेरोइन लगायतको लागुऔषधसमेत अभियुक्तबाट बरामद गरेको थियो । यहाँ पछिल्लो समय खुला सीमानाका कारण भारतका विभिन्न ठाउँबाट खैरो हेरोइन बढी मात्रामा आयात हुने गरेको छ । खुला सीमानाका लागुऔषध ओसारपसारमा भारतीय सुरक्षा निकायको बेवास्ता लगायतले यहाँ प्रहरीका लागि यसको नियन्त्रण मुख्य चुनौती बनेको हो । कञ्चनपुरका सीमानाकाबाट लुकीछिपी आयात हुने गरेको खैरो हेरोइन सुदूरपश्चिमका पहाडी जिल्लामा समेत जाने गरेको विगतका घटनाक्रममा देखिएको प्रहरीकै भनाइ छ । लागुऔषध न्यूनीकरणका लागि भन्दै प्रहरीले यहाँका विभिन्न विद्यालय, सार्वजनिक स्थानमा सचेतना कक्षा सञ्चालन गर्दै आएको छ । पछिल्लो समय जिल्ला प्रहरी कार्यालयको नेतृत्व तह नै लागुऔषधसम्बन्धी सचेतना कक्षा सञ्चालनमा सक्रिय छ । प्रहरीले लागुऔषध सवेनकर्ताबाट समाजमा अन्य आपराधिक क्रियाकलाप बढी हुने गरेको दाबीसमेत गरेको छ । त्यस्तै यहाँ २०७७/७८ मा लागुऔषधसम्बन्धी एक सय ४१ मुद्दा दर्ता भई दुई सय ३० जना पक्राउ परेका थिए । सोही आवयता लागुऔषध कारोबार र सेवनकर्ताको बिगबिगी बढेको प्रहरी रेकर्डले पनि देखाएको छ । आव २०७६/७७ मा लागुऔषधका ५५ मुद्दामा ८७ जना मात्रै पक्राउ परेको तथ्याङ्क छ । उक्त आवमा खैरो हेरोइन प्रहरीले ६३ ग्राम बरामद गरेको थियो । चालु आवको फागुनसम्म मात्रै प्रहरीले चार सय १४ दशमलव ६० ग्राम खैरो हेरोइन बरामद गरिसकेको छ । यहाँ सबैभन्दा बढी बेलौरी, पुर्नर्वास, बेल्डाँडी, शुक्लाफाँटा र दोधारा चाँदनी नगरपालिकामा यसको कारोबार बढी हुने गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कमल थापाले लागुऔषध नियन्त्रण र सचेतनाका लागि टोलसम्म सक्रिय हुने गरी क्लबलगायतका संरचनाको परिकल्पना गरेर अघि बढ्ने योजना रहेको बताए। “तल्लो तहसम्म यसका लागि छुट्टै खालको संरचना भए अझ बढी प्रभावकारी हुन्छ”, उनले भने, “छुट्टै संरचना बनाएर स्थानीय सरकार र प्रहरीबीचको समन्वयमा लागुऔषध दुव्र्यसन नियन्त्रणको प्रयास गर्नुपर्ने आवश्यकता छ ।” उहाँले भारतबाट बढी मात्रामा लागुऔषध आयात हुने भएकाले नेपाल–भारत संयुक्त सुरक्षालगायतका बैठकमा यो एजेण्डा प्राथमिकताका साथ राखिने बताए ।
मनाङमा स्नातक तहको पठनपाठन नहुँदा उच्च शिक्षा अध्ययनबाट विद्यार्थी वञ्चित मनाङ । हिमाली जिल्ला मनाङको सदरमुकाम चामेका रविन गुरुङ भन्छन्, “चामेमै पढ्न पाइने जतिसम्म पढेँ, यहाँभन्दा माथि पढ्नलाई जिल्ला बाहिर जान सकिँदैन ।” जिल्ला बाहिर गएर पढ्न सक्ने अवस्था नभएको रविन बताउँछन् । “जिल्ला बाहिर जान सकस भयो, इच्छा मात्रै भएर माथिल्लो तहको पढाइ पूरा गर्न नसकिने रहेछ, विकट जिल्लामा जन्मिएपछि पनि इच्छा पूरा नै नहुने रहेछ”, उनले भने, “उच्च शिक्षा हासिल गर्ने रहर रहरमै सीमित भयो, अहिले बाबाआमालाई होटल व्यवसायमा सघाउँदैछु ।” “जिल्लामा प्लस टुसम्म पढियो, स्नातक तह पढ्न जिल्ला बाहिर जानुपर्छ, खर्च जुटाउनै सकिँदैन”, रिया गुरुङ भन्छिन्, “इच्छा र चाहना सबै पूरा हुँदैनन् भनेको हो रहेछ, उच्च शिक्षा हासिल गर्ने मन भए पनि हामीले पढ्न पाउँदैनौँ ।” जिल्लामा नै उच्च शिक्षा अध्ययन गर्न पाउने भएको भए इच्छा पूरा हुने उनी बताउँछिन् । त्यस्तै अस्मिता गुरुङ भन्छिन्, “घाँटी हेरेर हाड निल्नुपर्छ भन्छन्, बाबाआमासँग झगडा गरेर भए पनि उच्च शिक्षा लिन्छुजस्तो हुन्छ नि ! के गर्नु बाबाआमाको दुःख पनि त बुझ्नुप¥यो ।” “देश विदेशबाट पर्यटक आउँछन् तर, पनि हामी त अभागी हौँ, कति मान्छेलाई हामी मनाङमा बस्ने भनेर खुसी हुन्छन् होला, हामी भने दुःखी छौँ, पढ्नै नपाउने भए पछि कहाँ खुसी हुन सकिन्छ र ?”, अस्मिता भन्छिन् । यी सबै मनाङका उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थी उच्च शिक्षा हासिल गर्न नपाउँदाको दुखेसो हो । आफ्ना बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले कतिपय अभिभावकले विभिन्न पाठशालामा पु¥याउने गर्दछन् तर, विपन्न तथा विकट जिल्लाका विद्यार्थी भने उच्च शिक्षा आर्जन गर्ने अवसरबाट नै वञ्चित हुने गरेका छन् । कतिपय अभिभावकले आफ्ना छोराछोरीलाई ठूला सहर तथा उच्च कोटीको विद्यालय, क्याम्पस तथा कलेजमा पठनपाठनका लागि पठाउने गर्दछन् तर, विकट हिमाली जिल्ला मनाङका विद्यार्थी भने उच्च शिक्षा अध्ययनबाट नै वञ्चित हुने गरेका छन् । मनाङमा हालसम्म कक्षा १२ सम्म मात्रै अध्यापन हुने हुँदा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीलाई अन्यत्र जानुपर्ने बाध्यता रहेको छ । उच्च शिक्षाका लागि प्लस टु सकिएपछि अन्यत्र जानुपर्ने हुँदा कयौँ विद्यार्थी उच्च शिक्षा लिने अवसरबाट नै वञ्चित भएका छन् । जिल्लामा स्नातक तहसम्मको पठनपाठन नहुँदा विशेष गरी विपन्न वर्गका विद्यार्थी उच्च शिक्षाबाट वञ्चित भएका शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख मतिलाल चपाईँले बताउनुभयो । “स्नातक तहको पठनपाठन जिल्लामा नहुँदा यहाँका विद्यार्थी उच्च शिक्षाबाट वञ्चित हुने गरेका छन्”, चपाईँले भने। जिल्लामा शिक्षा र व्यवस्थापन सङ्काय मात्रै अध्यापन गराइने गरिएकामा विगत चार वर्षदेखि कृषि र प्राविधिक धारका विषयको पठनपाठन थालिएको चपाईँले बताए। आवासीयरुपमा रहेको चामेस्थित लोकप्रिय माध्यमिक विद्यालयमा प्राविधिक धारका प्राविधिक र कृषि विषयमा अध्यापन भइरहेको उनले बताए । जिल्लाका अन्य विद्यालयमा शिक्षा र व्यवस्थापनबाहेक अरु विषयमा पठनपाठनको व्यवस्थापन हुन नसकेको उनले बताए । लोकप्रिय मावि र नासोँ गाउँपालिका–३ स्थित प्रकाशज्योति माध्यमिक विद्यालयमा कक्षा १२ सम्म अध्यापन हुन्छ । नासोँ गाउँपालिका–१ तालगाउँस्थित भानु माध्यमिक विद्यालय र मनाङ ङिस्याङ गाउँपालिकास्थित अन्नपूर्ण माध्यमिक विद्यालयमा कक्षा १० सम्म मात्रै अध्यापन हुने गरेको छ । मनाङमा शैक्षिक गुणस्तर वृद्धि तथा उच्च शिक्षाको विकासका लागि समन्वयको भूमिकामा प्रस्तुत भइरहेको चपाईँले बताए । प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गलेले उच्च शिक्षा अध्ययनका लागि बाहिरी जिल्ला जानुपर्ने बाध्यता हटाउने उद्देश्यले शिक्षा विकास तथा समन्वय एकाइको माध्यमबाट छलफल तथा समन्वयात्मक रुपमा प्रत्येक स्थानीय तहसँग छलफलमा रहेको बताए । “उच्च शिक्षा आर्जन गर्न चाहने विद्यार्थी मौलिक अधिकारबाट वञ्चित नहोस् भनेर समन्वय गरिरहेका छौँ”, प्रजिअ ढुङ्गेलले भने, “जिल्ला बाहिर गएर अध्ययन गर्न सक्ने विद्यार्थीलाई भन्दा विपन्न वर्गका विद्यार्थी नै शिक्षाबाट वञ्चित हुन नपरोस् भनी तदारुकताका साथ प्राथमिकता दिएका छौँ ।” जिल्लाका राजनीतिक दल, चार वटै पालिकाको शिक्षा शाखामार्फत उच्च शिक्षा अध्ययनका कक्षा आगामी वर्षदेखि सञ्चालनको विषयमा छलफलमै रहेको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ । जिल्लामै उच्च शिक्षा आर्जन गर्न पाउने भएमा जिल्लाका विद्यार्थीमा हुँदै आएको निरासा हट्ने बताइएको छ । जिल्लामा उच्च शिक्षा अध्यापन भएमा परिवारलाई सहयोग गर्दै जिल्लामा नै उच्च शिक्षा हासिल गर्न सहज हुने उनीहरु बताउँछन् ।
काठमाडौं महानगरपालिकालाई सार्वजनिक बस व्यवस्थापनमा सकस काठमाडौं । मुलुकको संघीय राजधानीमा रहेको काठमाडौं महानगरपालिकालाई बस व्यवस्थापनमा सकस परेको छ । देशका अधिकांश जिल्लाबाट यात्रु बोकेर काठमाडौँ आउने सार्वजनिक यातायातलाई व्यवस्थापन गर्नका लागि गोङ्गबुस्थित नयाँबसपार्क र पुरानो बसपार्क सञ्चालनमा आए पनि सार्वजनिक बस बसपार्कभित्र छिर्न नमान्दा बस व्यवस्थापनमा सकस भएको हो । पुरानो बसपार्क भने अहिले सञ्चालनमा आएको छैन। काठमाडौँ उपत्यकाभित्र प्रवेश गर्ने सार्वजनिक सवारी साधनलाई व्यवस्थित तथा पार्किङ गर्नका लागि काठमाडौँ महानगरपालिकाले विसं २०५६ मा ल्होत्से बहुउद्देश्यीय प्रालिसँग सम्झौता गरी नयाँ बसपार्क सञ्चालनमा ल्याए पनि कतिपय सार्वजनिक बस नयाँ बसपार्क छिर्न नमान्दा सार्वजनिक बस सञ्चालनमा सकस भएको हो । विशेषगरी अहिले काठमाडौँबाट पृथ्वी राजमार्गअन्तर्गत पोखरा, लमजुङ, बागलुङ, म्याग्दीलगायतका क्षेत्रमा चल्ने माइक्रोबस गोङ्गबुदेखि नयाँ बसपार्क बीचको मुख्य सडक छेउबाट चल्ने गरेका छन् । यस्तै, धादिङ, रसुवा नुवाकोट जाने सवारी साधन माछापोखरी र गोरखा चल्ने माइक्रोबस बालाजु क्षेत्रबाट चल्ने गरेका छन् । गोङ्गबु चोकदेखि बालाजु चोकसम्मको दुई किलोमिटर दूरीमा नयाँ बसपार्क सञ्चालनमा रहे पनि अधिकांश माइक्रोबस तथा ठूला बस सडक छेउबाटै सञ्चालन हुँदै आएका छन् । ट्राफिक प्रहरीले काठमाडौँ महानगरपालिका, यातायात व्यवसायी, यातायात व्यवस्था विभागलगायत सरोकारवाला निकायसँगको छलफलमा रातिको समयमा सञ्चालन हुने सवारी साधनलाई नयाँ बसपार्कबाट सञ्चालन गर्ने निर्णय गरे पनि कतिपय सवारी साधन भने अहिले पनि चक्रपथ वरपरका सडकबाट सञ्चालन हुँदै आएका छन् । जनकपुर, वीरगञ्ज, बारा, पर्सालगायतका क्षेत्रमा चल्ने रात्रिकालीन सवारी साधन अहिले पनि गौशालाबाट चल्दै आएका छन् । यस्तै, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, दोलखा र रामेछाप चल्ने सवारीसाधन पुरानो बसपार्क हुँदै कोटेश्वर सडक किनाराबाट सञ्चालन हुँदै आएका छन् । चितवन, नवलपरासी क्षेत्रमा चल्ने माईक्रोबस कलङ्की र हेटौँडा चल्ने सुमोबस बल्खुबाट चल्दै आएका छन् । सार्वजनिक यातायातलाई व्यवस्थित गर्नका लागि काठमाडौँ महानगरपालिकाले वडा नं २६ गोङ्गबुस्थित विष्णुमति खोला किनारामा एक सय ६१ रोपनी क्षेत्रफलमा झण्डै दुई हजार सार्वजनिक सवारी साधन अट्न मिल्ने पार्किङ बनाए पनि कडा नीति नहुँदा अधिकांश सवारी साधन सडकबाटै सञ्चालन हुँदै आएका छन् । काठमाडौँ महानगरपालिकाका यातायात विज्ञ जगतमान श्रेष्ठ सबै सार्वजनिक सवारी साधनलाई नयाँ बसपार्कभित्रबाट सञ्चालन गर्ने गरी काठमाडौँ महानगरपालिकाले गृहकार्य थालिरहेको बताउँछन् । “काठमाडौँ महानगरपालिकाले लामो तथा छोटो दूरीका सार्वजनिक सवारी साधन पार्किङका लागि नयाँबसपार्कमा एक सय ६१ रोपनी जग्गा उपलब्ध गराएको छ, सबै सवारी साधन बसपार्कभित्रबाट सञ्चालन हुनुपर्छ”, उनी भन्छन् । बसपार्कमा सवारी साधन नअटाए त्यसको विकल्प खोजिने उनको भनाइ छ । काठमाडौँ महानगरपालिकाले महानगरपालिकाभित्रको ट्राफिक जाम घटाउन र निजी सवारी साधन पार्किङका लागि आवश्यक अध्ययन गरिरहेको श्रेष्ठ बताउँछन्। हाल चक्रपथ विस्तार आयोजनाअन्तर्गत कलङ्कीदेखि बालाजु–चाबहिल हुँदै कोटेश्वरसम्म दोस्रो चरणको काम भइरहेकाले सडकबाट बस सञ्चालन गर्न कठिनाइ भइरहेको व्यवसायी बताउँछन् । लमजुङ माईक्रोबस कम्पनीका कर्मचारी विष्णु खत्री नयाँ बसपार्कभित्र माइक्रोबस लैजाँदा माइक्रोबसले बोक्ने यात्रु ठूला बसले बोक्दा माइक्रोबसले यात्रु नपाउने डरले आफूहरुलाई बसपार्कभित्र जान समस्या परेको बताउँछन् । “हामीलाई सडकबाट माइक्रोबस गुडाउने रहर छैन, नयाँ बसपार्कभित्र ठूला बस र माईक्रोबसका लागि छुट्टाछुट्टै पार्किङको व्यवस्था हुनुपर्छ”, उनी भन्छन् । काठमाडौँको चक्रपथ वरपर मुख्य सडकमा टिकट काउन्टर र जथाभावी बस पार्किङ गर्दा उपत्यकाको ट्राफिक व्यवस्थापनमा समेत समस्या हुने गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार लामो दूरीका सवारी साधन चक्रपथको बाटो भएर ओहोरदोहोर गर्दा ट्राफिक व्यवस्थापनमा असहज हुने गरेको हो । कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्ट लामो दूरीका सवारी साधन चक्रपथ वरपर सडकमा पार्किङ गर्दा उपत्यकाको ट्राफिक व्यवस्थापनमा समस्या हुने गरेको बताउँछन् । “लामो तथा छोटो दूरीका सवारी साधन गोङ्गबुस्थित नयाँ बसपार्क र पुरानो बसपार्कबाट सञ्चालन हुनुपर्छ, साँघुरो सडकमा जथाभावी सवारी पार्किङ गर्दा लामो समयसम्म सवारी जाम हुने गरेको छ”, उनी भन्छन् । प्रवक्ता भट्ट चक्रपथ वरपरका ठाउँमा जथाभावी पार्किङ गर्ने सवारी साधनलाई ट्राफिक प्रहरीले उच्च निगरानी राखी कारबाही गर्दै आएको बताउँछन् । ट्राफिक प्रहरी कार्यालयका अनुसार हाल काठमाडौँ उपत्यकामा १९ लाख हाराहारीमा सवारीसाधन सञ्चालनमा छन् भने एक हजार पाँच सय हाराहारीमा ट्राफिक जनशक्ति कार्यरत छन् । पछिल्लो समय राजधानी काठमाडौँलगायत देशभर निजी तथा सार्वजनिक सवारी साधनको सङ्ख्या वृद्धि हुँदा र बाटोको विस्तार नहुँदा ट्राफिक व्यवस्थापनमा चुनौती थपिँदै गएको छ ।
सेना हिमालबाट ३५ हजार किलो फोहर सङ्कलन गर्दै काठमाडौं। नेपाली सेनाले विश्वको सर्वाेच्च शिखर सगरमाथासहित चारवटा हिमालमा ‘सफा हिमाल अभियान २०२३’ सञ्चालन गर्ने भएको छ। उक्त अभियानअन्तर्गत सगरमाथा, ल्होत्से, बरुञ्चे र अन्नपूर्ण हिमालबाट कुहिने र नकुहिने गरी ३५ हजार केजी फोहर सङ्कलनको लक्ष्य राखिएको छ। उक्त अभियानका क्रममा सगरमाथाबाट १० हजार, ल्होत्सेबाट पाँच हजार, बरुञ्चेबाट १० हजार र अन्नपूर्णबाट १० केजी फोहर सङ्कलन गर्ने लक्ष्य रहेको सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए। प्रकृति र पर्यावरण प्रभावकारी संरक्षणका निम्ति विश्वका अग्ला हिमालको स्वच्छता कायम राख्ने सरकारको राष्ट्रिय कार्यक्रम कार्यान्वनलाई सेनाले प्राथमिकतामा राखेको छ। विश्व वातावरणमा परेको प्रतिकूल असरबारे सचेतना फैलाउन र हिमशृङ्खलाको मनोरम सौन्दर्यलाई अक्षुण राख्ने सेनाले सन् २०१९ देखि सफा हिमाल अभियान सञ्चालन गर्दै आएको छ। सन् १९५३ मा तञ्जिङ नोर्गे र एडमण्ड हिलारीले सगरमाथा आरोहण गरेयता सगरमाथामा मात्रै करिब १४ हजार टन फोहर तथा तीन सयभन्दा बढी मृत शरीर रहेको अनुमान गरिएको छ। सेनाको अगुवाइमा सफाइसँग सरोकार राख्ने विभिन्न सरकारी एवं गैरसरकारी सङ्घ संस्थासँगको समन्वयन र सहकार्यमा अभियान सञ्चालन हुँदै आएको छ। प्रदूषण नियन्त्रण र जलवायु परिवर्तनले पर्यावरणमा पुर्‍याएका असरलाई कम गर्ने तथा पर्वतीय अर्थतन्त्र अभिवृद्धि गर्ने लक्ष्यका साथ अभियान सञ्चालन गरिएको छ। पर्यटक र पर्वतारोहीलाई आकर्षित गर्न तथा भावी पुस्ताका लागि हिमाल संरक्षण गर्न अभियानले ठूलो योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। यस वर्षको अभियानका लागि पूर्वतयारी र समन्वय तथा तालिम सञ्चालन र जनशक्तिको चयनसमेत भइसकेको छ। अभियानमा सगरमाथा र ल्होत्सेका प्रमुख सेनानीसहित १३, बरुञ्चेमा सेनानीसहित नौ, अन्नपूर्णमा सहसेनानीसहित १० जना सैनिक टोलीसहित अन्य शेर्पा सहयोगी रहने छन्। सेनाका अनुसार, अभियान यही चैत १४ देखि आगामी जेठ २२ गतेसम्म सञ्चालन हुनेछ। यसअघि सन् २०१९ मा सगरमाथाबाट कुहिने र नकुहिने गरी १० हजार आठ सय किलो र चार मानव मृत शरीर तथा सन् २०२१ मा सगरमाथा, ल्होत्से, पुमरी, मकालु, धौलागिरि र आमदब्लम हिमालबाट २७ हजार छ सय ७१ किलो फोहर सङ्कलन भएको थियो। सेनाका अनुसार, सन् २०२२ मा सगरमाथा, ल्होत्से, मनास्लु र कञ्चनजङ्गा हिमालबाट कुहिने सात हजार एक सय ५७ र नकुहिने ३३ हजार आठ सय ७७ केजीसहित दुई वटा मानव कङ्कालसमेत सङ्कलन गरिएको थियो। सेनाको नेतृत्वमा अभियानमा पर्यटन र वातावरण विभाग, खुम्बु पासाङ ल्हामु र अन्नपूर्ण गाउँपालिका, सगरमाथा राष्ट्रिय निकुञ्ज प्रशासन कार्यालय, हिमालय रेस्क्यु एसोसिएसन, एक्सपिडीसन अपरेटर एसोसिएसन, पर्यटन बोर्ड, नेपाल पर्वतारोहण सङ्घ, ट्रेकिङ एसोसिएसन अफ नेपालको सहभागिता रहनेछ। सगरमाथा प्रदूषण नियन्त्रण कमिटी, कञ्चनजङ्गा र मनास्लु संरक्षण आयोजना, विभिन्न प्रदेश तथा स्थानीय तह, अन्तर्राष्ट्रिय र राष्ट्रिय गैरसरकारी संस्था र निजी क्षेत्रको समेत अभियानमा सहकार्य हुनेछ। प्रकृतिका अनुपम वरदानमध्ये मोतीजस्तै टल्कने हिमाली शृङ्खलाले नेपाललाई विश्वमै परिचित र समृद्ध तुल्याएको छ। नेपाल र नेपालीको पहिचानलाई सगरमाथाको उचाइले संसारभर नै गौरव बढाएको छ। सगरमाथासहित नेपालका विभिन्न हिमाल आरोहणको यात्रामा स्वदेशी तथा विदेशी गरी हजाराैंको सहभागी भइसकेका छन्। पछिल्ला वर्षमा हिमाल आरोहण देखिएको आकर्षणले हिमाल र हिमाली क्षेत्रमा भएको प्रदूषणले हिमालको साख र सुन्दरता कायम राख्न चुनौती खडा गरेको छ। सोही पक्षलाई दृष्टिगत गर्दै सेनाले प्रकृति र पर्यावरण संरक्षणमा सहयोग गर्ने हेतुले ‘सफा हिमाल अभियान’ सञ्चालनलाई प्राथमिकतामा राखेर काम गर्दैआएको छ। सेनाले विसं २०७६ बाट सफा हिमाल अभियान सुरु गरेको हो। नेपालका हिमशृङ्खला विश्वका साहसिक पर्यटकको रोजाइको पहिलो गन्तव्य हुन्। अभियानअन्तर्गत सङ्कलन गरिएका पुनः प्रशोधन गर्न सकिने फोहर काठमाडौं ल्याइने गरिएको छ भने कुहिने फोहर स्थानीय निकायसँगको सहकार्यमा तत् तत् क्षेत्रमै व्यवस्थापन गरिँदैआएको छ। अभियानका क्रममा समुदायसँग सहकार्य गर्दै सम्बन्धित हिमालसम्म पुग्ने पदमार्ग र इलाकामा पर्ने बस्तीमा फोहर सफा गर्नुभन्दा फोहर नै हुन नदिन सचेतना कार्यक्रम पनि सञ्चालन गरिँदैआएको छ। सफा हिमाल अभियान प्रकृति र पर्यावरण सरक्षणमा नयाँ आयाम बनेको प्रवक्ता भण्डारी बताउँछन्। अभियानका क्रममा सेनाको टोलीले तत्तत् हिमाल आरोणको प्रयास गर्नेछ। राष्ट्रिय सुरक्षा, प्रकृति संरक्षण, विकास निर्माण, विश्व शान्ति स्थापना र विपद व्यवस्थापनलगायत हिमाल संरक्षणमा समेत सेनाको महत्वपूर्ण योगदान हुँदै आएको छ।