content
stringlengths
20
64.1k
कोरोनाको नयाँ भेरियन्ट कम घातक, बढी सङ्क्रामक काठमाडौं। नेपालमा पहिलोपटक देखा परेको कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन एक्सवीवी १.१६’ बढी सङ्क्रामक रहेको पाइएको छ। चिकित्सकका अनुसार नयाँ भेरियन्ट तुलनात्मकरुपमा कम घातक र बढी संक्रामक छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निमित्त निर्देशक डा हेमन्त ओझाले नयाँ भेरियन्टले दीर्घरोगी, रोगसँग लड्न क्षमता कम भएका मानिस, वृद्धावृद्धलाई बढी समस्या गराउन सक्ने बताए। भारतमा देखिएको नयाँ भेरियन्ट ओमिक्रोन एक्सवीवी १.१६ नेपालमा पनि अनुवांशिक अध्ययन गर्दा १० वटा देखिएको उनको भनाइ छ। “भारतमा देखिएअनुसार नयाँ भेरियन्टका कारण धेरै संक्रमितलाई गम्भीर बनाएको देखिँदैन र अधिकांश अस्पताल भर्ना नभएको पाइएको छ”, उनले भने। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा मनिषा रावलले नयाँ देखिएको ओमिक्रोनको भेरियन्ट घातकभन्दा पनि बढी मानिसलाई सार्ने बताउँछन्। “यो डेल्टा भेरियन्टभन्दा कम घातक छ”, उनले भने, “नयाँ भेरियन्टले मानिसमा भने चाँडै फैलिन सक्छ ।” उनले छिटो फैलिने भएकाले सर्तकता अपनाउन आग्रह गरे। नयाँ भेरियन्टबाट संक्रमितमध्ये हालसम्म चार जना अस्पतालमा भर्ना भएको उनले बताए। जसमध्ये तीन जना घर फर्किसकेको तथा एक जना उपचाररत रहेको उनको भनाइ छ। नयाँ भेरियन्ट ओमिक्रोन एक्सवीवी १.१६ संक्रमण हुँदा रुघा लाग्ने, ज्वरो आउने, घाँटी खसखस हुने, जीउ दुख्ने, खाना नरुच्नेजस्ता लक्षण देखिन्छन्।
सालकको खपेटासहित दुई जना पक्राउ भक्तपुर । चाँगुनारायण नगरपालिका–२ बर्खेबाट अन्दाजी ९ सय ९८ ग्राम तौल भएको सालकको खपेटासहित दु्ई जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका-२ बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका–३ घर भएका २२ वर्षीय आसुतोष थपलिया र सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका–२ घर भएका २६ वर्षीय अमृत गजमेर रहेका छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले बाग्मती प्रदेश ०२-०२० प ८४९७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त तौलको खपेटासहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
नारायणगढ-बुटवल सडकमा १५ पुल अन्तिम चरणमा काठमाडौं। पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवल सडक खण्डमा छ ठूला र नौ साना पुलको निर्माण अन्तिम चरणमा पुगेको छ। पछिल्लो समयमा आयोजनामा सडकसँगै पुल निर्माणले पनि गति लिन थालेको हो। पश्चिम खण्डमा नौ ठूलो र २१ सानो पुल रहेका छन्। तीमध्ये तीन ठूला र १४ सानो सकिएको तथा दुई ठूलो र चार सानो सकाउने गरी काम भइरहेको आयोजनाका प्रमुख प्रदीपराज शाक्यले बताए। उनका अनुसार पूर्वी खण्डमा अहिले ठूला चार र साना पाँच पुल सम्पन्न हुने चरणमा रहेका छन्। आयोजनाले दाउन्ने खण्डमा भने पुल सुरु नगरेको र त्यहाँ वर्षा पहिले सुरु गर्न नहुने अवस्था रहेको प्रमुख शाक्यले बताए। वर्षा सकिएपछि त्यहाँका पुलको निर्माण सुरु गरिने योजना रहेको उनले जानकारी दिए। दुवै खण्डमा निर्माणाधीन पुलमा विभिन्न चरणमा काम भइरहेको छ। आगामी आवसम्म सडक र पुल दुवै सम्पन्न गर्ने लक्ष्य लिइएको छ। निर्माण गर्न बाँकी रहेकामा साना पुल बढी रहेका छन्। अहिलेसम्म ठूलाठूला पुलमा जगको काम भइसकेको छ। उनले भने, “पुलमा मुख्य गरी जगको काम भएपछि माथिल्लो भागमा समय धेरै लाग्दैन।” सरकारले पूर्व–पश्चिम राजमार्ग एसियाली राजमार्गको मापदण्डमा विस्तारको काम अघि बढाएको छ। विभिन्न खण्डमा कतै विस्तार अघि बढिसकेको छ भने कतै विस्तारको तयारी सुरु भएको छ। विसं २०७५ मा सरकारले नारायणगढदेखि बुटवल सडक निर्माण सुरु गरेको थियो। एक सय १४ किलोमिटर लम्बाइको सडक पूर्वीखण्ड र पश्चिम खण्ड गरी दुई योजनाअन्तर्गत काम अघि बढाइएको छ। दुवै प्याकेजको निर्माण साढे तीन वर्षमा सम्पन्न गर्ने गरी चाइना स्टेट कन्सट्रक्सन कर्पोरेशनलाई दिइएको थियो।
मुगुमा प्रहरी जवान मृत फेला काठमाडौं । मुगुमा एक प्रहरी जवान मृत फेला परेका छन् । जुम्ला जिल्लाको कनकासुन्दरी गाउँपालिका-९ का २६ वर्षीय प्रहरी जवान अनिल बुढाको शव बुधबार दिउँसो अन्दाजी २:४५ बजेतिर फेला परेको प्रहरीको भनाइ छ । छाँयानाथ रारा नगरपालिका–१ स्थित रानिवन जंगलमा सल्लाको रुखमा झुण्डिएको अवस्थामा उनको शव फेला परेको हो । उनले आत्महत्या गरेको प्रहरीको अनुमान छ । उनी नेपाल प्रहरी विशेष सुरक्षा गण सुर्खेत, हाल नेपालगञ्ज, कोहलपुर बाँके दरबन्दी भई जिल्ला प्रहरी कार्यालय मुगुमा काजमा खटिएका थिए ।
अर्थमन्त्री डा महतसँग अमेरिकी राजदूतको शिष्टाचार भेट काठमाडौं। अर्थमन्त्री डा प्रकाशशरण महतसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसन्ले शिष्टाचार भेट गरेका छन्। आज मन्त्रालयमा भएको भेटमा दुई देशबीच सहयोगको दायरा अझ फराकिलो बनाउने विषयमा छलफल भएको थियो। कुन–कुन क्षेत्रमा अमेरिकाले थप अनुदान सहयोग उपलब्ध गराउन सक्छ भन्ने विषयमा मन्त्री डा महत र राजदूत थम्पसन्बीच छलफल भएको मन्त्री डा महतले बताए। मिलेनियम च्यालेन्जर कर्पोरेशन (एमसीसी) र अमेरिकी सहयोग नियोग (युएसएड) मार्फत अमेरिकाले नेपालमा अनुदान थप्न इच्छुक रहेको तथा नयाँ परियोजनामा लगानी गर्न अमेरिका तयार रहेको भेटपछि मन्त्री डा महतले बताए। अर्थमन्त्री डा महतले भने, “नेपालको आर्थिक विकासमा अमेरिकी सहयोग महत्वपूर्ण रहेको छ, अहिले पनि आर्थिक समृद्धिका लागि नेपालले कुन क्षेत्रमा लगानी खोजेको हो, त्यसमा अनुरोध आओस् भन्ने अमेरिकाले चाहेको छ।” सो भेटका क्रममा अमेरिकी सरकारको अनुदान सहयोगका लागि मन्त्री डा महतले राजदूत थम्पसन्लाई धन्यवाद दिएका थिए।
बलियो नेपाल यू-१९ क्रिकेट बुधबारबाट काठमाडौँ। बलियो नेपाल यू–१९ क्रिकेट प्रतियोगिता आज (बुधबार)बाट सुरु भएको छ । बलियो नेपाल न्युट्रीसन इनिसीएटिभको आयोजनामा हुने प्रतियोगिता पोखरा स्थित पोखरा क्रिकेट रंगशालामा आयोजना भएको हो । चैत २७ गतेसम्म  चल्ने प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको छ। सहभागी टोलीहरु इलाम क्रिकेट एकेडेमी, कर्णाली क्रिकेट एकेडेम, स्टार क्रिकेट एकेडेमी, जनकपुर क्रिकेट एकेडेमी, पोखरा क्रिकेट एकेडेमी तथा पल्सर क्रिकेट एक्सिलेन्स सेन्टरले प्रतिस्पर्धा गर्नेछन्। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरेर लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा गराइनेछ। प्रतियोगिता टी–ट्वान्टी फर्म्याटमा आयोजना हुनेछ।
विभिन्न स्थानबाट लागुऔषधसहित पाँचजना पक्राउ काठमाडौं । देशका विभिन्न स्थानबाट पाँचजना लागुऔषधसहित पक्राउ परेका छन् । संखुवासभाको खाँदबारी नगरपालिका(२ माथिलो चेवा बस्ने ६७ वर्षीय गोपाल भट्टराईलाई अवैध लागूऔषध अफिम जस्तो देखिने वस्तु २७ ग्राम ६८ मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरीले उनलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो । रूपन्देहीको देवदह नगरपालिका(२ ढेकावारस्थित प्रतिक्षालयबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्रामसहित दुईजनालाई  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तिलोत्तमा नगरपालिका(२ बस्ने २३ वर्षीय राजेश थापा र सोही नगरपालिका(४ बस्ने २२ वर्षीय सिमान्त रायमाझी रहेका छन् । वडा प्रहरी कार्यालय बुटवल र प्रहरी चौकी खैरेनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका(२ सुनपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७० मिलिग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १९ वर्षीय श्रावण तिमिल्सेना र २३ वर्षीय अनिल बुढा रहेका  छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागुऔषध नियन्त्रण ब्यूरो सुर्खेतबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
‘इको पदमार्ग’ मा चहलपहल बढ्दै पर्वत। कोरोना सङ्क्रमणका कारण सुनसान जस्तै बनेको अन्नपूर्ण धौलागिरि इको पदमार्गमा चहलपहल बढ्न थालेको छ। पर्वत र म्याग्दी जिल्लाका ग्रामीण बस्तीहरूलाई समेटेर विगत एक दशकअघिदेखि सञ्चालनमा आएको सो ‘इको पदमार्ग’मा यात्रा गर्ने पर्यटकको सङ्ख्यामा वृद्धि हुन थालेको हो। पर्वतको जलजला गाउँपालिकाको वारीवेनीदेखि यात्रा सुरु हुने यो पदमार्गमा दैनिक ३०/४० जना आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको स्थानीयवासीको भनाइ छ। सन् २०११ अक्टोबरदेखि सञ्चालनमा आएको यो पदमार्ग पर्वतको वारीवेनी हुँदै म्याग्दीको घुमाउनेतालदेखि सुरु भएर पर्वतको बाँसखर्क, डाँडाकटेरी, नागी, मोहोरेडाँडा, टिकोट हुँदै पाँच दिनपछि म्याग्दीको तिप्ल्याङमा पुगेर टुङ्गिन्छ। कतिपय बाह्य पर्यटकहरूले भने यो पदमार्गलाई लम्ब्याएर टिकोट हुँदै खिवाङदेखि स्वापसम्म पुगेर फर्किने गरेका छन्। कोरोनाका कारण दुई वर्ष सुनसान जस्तै बनेको यो पदमार्गमा गत वर्षदेखि बिस्तारै पर्यटकहरू आउन थालेको स्थानीय जगत पाइजाले बताए। यो क्षेत्रको पर्यटन विकासका लागि तत्कालीन अवस्थामा लघु उद्यम विकास कार्यक्रमले युएनडिपीको सहयोगमा जिल्लास्थित लघु उद्यम सम्बद्ध सङ्घसंस्थाहरूसँग सहकार्य गरेर विभिन्न सामुदायिक लज तथा होमस्टेको प्रबन्ध मिलाइएको छ। लघु उद्यम विकास कार्यक्रमले जिल्लाको जलजला गाउँपालिका–१ बाँसखर्क र वडा नं ५ लेखफाँटको डाँडाकटेरीमा सामुदायिक लज निर्माण गरेको छ। तत्कालीन अवस्थामा लघु उद्यम विकास कार्यक्रमको रु सात लाख, स्थानीय गाविसको रु एक लाख समुदायको झण्डै एक लाख गरी रु नौ लाखको लागतमा सामुदायिक लज निर्माण भएका थिए। यसरी निर्माण गरिएका लजहरू स्थानीय समुदायमा नै व्यवस्थापन समिति बनाएर संरक्षण र सञ्चालन भइरहेका छन्। डाँडाकटेरी सामुदायिक लज व्यवस्थापन समितिका अध्यक्ष सीतबहादुर पुनले लजको व्यवस्थापन तथा सञ्चालनका लागि आफूहरू दिनरात खटिँदै आएको र पर्यटकहरूको माग र आवश्यकता बमोजिमका परिकारहरू खुवाउँदै आएको बताए। विश्वभर फैलिएको कोरोना सङ्क्रमणपछि सुनसान बनेको पदमार्गमा अहिले आन्तरिक तथा बाह्य पर्यटक आउन थालेको उनले बताए। उनले सिजनमा चारदेखि ६ सयसम्म आन्तरिक तथा बाह्य पर्यटक आउन थालेको जानकारी दिए। उनले स्थानीय परिकारहरूसमेत पर्यटकहरूले भरपुर मात्रामा प्रयोग गर्ने गरेको बताए। सामुदायिक लजसँगै ती गाउँमा घरबास ‘होमस्टे’ सुविधासमेत सञ्चालनमा ल्याइएको छ। गाउँमा आउने पर्यटकलाई लजमा खाना खुवाउने र होमस्टेमा सुत्ने व्यवस्था मिलाइएको छ। यो पदमार्गमा सन् २०१२ देखि अपेक्षित मात्रामा पर्यटकहरू पदमार्गमा यात्रा गर्दै आएका छन्। यो पदमार्गमा होल्यान्ड, जर्मन, अस्टे«लिया, हङकङलगायत पछिल्लो समय आन्तरिक पर्यटकहरू समेत उल्लेख्य मात्रामा आउने गरेको होमस्टे सञ्चालक यामबहादुर पाइजाले बताए। यसरी पदमार्गमा आउने पर्यटकहरूले समुदायको वस्तुस्थिति, परापूर्वकालमा निर्माण भएका भौतिक संरचना र हिमशृङ्खला लगायतको अवलोकन गरेर दृश्यपान गर्ने गरेको उनले जानकारी दिए। – रासस
सालकको खपेटासहित दुई जना पक्राउ भक्तपुर। चाँगुनारायण नगरपालिका-२ बर्खेबाट ९९८ ग्राम तौल भएको सालकको खपेटासहित दुईजनालाई  प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा चाँगुनारायण नगरपालिका-२ बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका-३ घर भएका २२ वर्षीय आसुतोष थपलिया र सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका-२ घर भएका २६ वर्षीय अमृत गजमेर रहेका छन्। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले बाग्मती प्रदेश ०२-०२० प ८४९७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त तौलको खपेटासहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ।
श्रोत नखुलेको नेपाली रुपैयाँसहित २७ वर्षिय युवक पक्राउ काठमाडौँ। श्रोत नखुलेको नेपाली रुपैयाँसहित एक युवकलाई पक्राउ गरेको छ। सर्लाही जिल्लाको मलंगवा नगरपालिका ८ भन्सार सीमा ईलाकाबाट  करीव ३ लाख २० हजार नेपाली रुपैयाँसहित एक युवकलाई पक्राउ गरेको हो। भारत घर बताउने २७ वर्षिय राकेश कुमार तिवारीलाई प्रस्तावित सीमा सुरक्षा गुल्म मलंगवा (बिओपी मलंगवा)ले उल्लेखित रुपैयाँसहित नियन्त्रणमा लिइएको हो । बी.आर. ३० ए.ए. ३४५५ नम्बरको मोटरसाईकलमा सवार उनलाई जाँच गर्दा उनको साथमा फेला परेको रुपैयाँको श्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिइएको हो। बरामद भएको उल्लेखित रुपैयाँमा १ सय दरको २ सय वटा, ५ सय दरको २ सय ७० वटा र १ हजार दरको १ सय ६५ वटा नोट रहेको छ । नियन्त्रणमा लिइएकालाई बरामद रुपैयाँ तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीमा बुझाईएको छ ।
दुबै खुट्टा नभएका हरि बुढामगर सगरमाथा आरोहण गर्दै काठमाडौं । शारीरिकरुपमा अशक्त हरि बुढामगरले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएका छन्। पूर्वगोरखा सैनिकसमेत रहेका उनी सगरमाथा आरोहणका लागि पर्यटन विभागबाट आरोहण अनुमति लिएर सोलुखुम्बु प्रस्थान गरेका छन्। विभागका महानिर्देशक होमप्रसाद लुइँटेलका अनुसार बुढामगरले सगरमाथा आरोहणका लागि केही दिनअघि आरोहण अनुमति लिएका थिए ।शारीरिकरूपमा अशक्त बुढामगर आरोहणका लागि आवश्यक प्रक्रिया पूरा गरेर सगरमाथातर्फ प्रस्थान गरेको उनले बताए । आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सगरमाथा आधार शिविरतर्फ प्रस्थान गरेका उनका दुबै खुट्टा छैनन् । बुढामगरले कृत्रिम (प्रोस्थेटिक) खुट्टाको सहायतामा सगरमाथा आरोहण गर्न लागेका हुन्। कृत्रिम खुट्टाको सहायतामा सगरमाथाको आधार शिविर पुगेर ‘स्काइड्राइभिङ’ गर्ने उनी पहिलो व्यक्तिसमेत हुन्। लामो प्रतिक्षापछि सगरमाथा आरोहणका लागि जान अनुमति पाउँदा खुशी लागेको र निकै उत्साहका साथ आरोहणमा निस्किएको बताएको बुढामगरको भनाइ उद्धृत गर्दै विभागका महानिर्देशक लुइँटेलले बताए। सन् २०१० मा अफगानिस्तानको लडाइँमा बुढामगरले दुवै खुट्टा गुमाएका थिए। घुँडाभन्दा तल दुवै खुट्टा गुमाउने र कृत्रिम खुट्टाको सहारामा सगरमाथा आधार शिविरसम्म पदयात्रा गर्ने उनी पहिलो व्यक्ति भएको बताइन्छ । बुढामगरले मोन्ट ब्लाङ(४,८१० मिटर), चुलु सुदूरपूर्व (६,०५९ मिटर), किलिमन्जारो(५,८९५ मिटर) र मेरा पिक (६,४७६ मिटर) हिमाल आरोहण गरिसकेका छन्। वसन्त ऋतुका बेला सगरमाथासहित हिमाल तथा चुली आरोहणका लागि अहिले धमाधम आरोहीले आरोहण अनुमति लिइरहेका छन् । विभागको पवर्तारोहण शाखाका अनुसार वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि मङ्गलबारसम्म १२ आरोही समूहका १७ महिला र ८३ पुरुषसहित एक सय आरोहीले आरोहण अनुमति लिएका छन् । सगरमाथासहित विभिन्न हिमाल तथा चुली आरोहणका लागि हालसम्म ३६ आरोही समूहका ५३ महिला र दुई सय १७ पुरुषसहित दुई सय ७० ले आरोहण अनुमति लिएको विभागले जनाएको छ । सगरमाथापछि अन्नपूर्ण हिमाल आरोहणका लागि पाँच, मनास्लु आरोहणका लागि चार र ल्होत्से आरोहणका लागि तीन आरोही समूहले हिमाल आरोहणको अनुमति लिएका छन् ।
जुवातास खेलिरहेको अवस्थामा २० जना पक्राउ काठमाडौँ। काठमाडौं, टोखा नगरपालिका-३ बानियाँटार धमालटार बस्ने ३९ वर्षीय युवराज कडेलको घरमा जुवातास खेलिरहेको अवस्थामा कडेलसहित ९ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख १३ हजार ७ सय रूपैयाँ र ६ बुक ताससहित फेला पारी पक्राउ गरेको हो। यसैगरी काठमाडौं महानगरपालिका-१६ बोहोराटारस्थित पुरानो सामुदायिक भवनमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३८ वर्षीय राजन बोहरा समेत ८ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २५ हजार ५ सय रूपैयाँ र २ बुक ताससहित फेला पारी पक्राउ गरेको हो। सर्लाही, लालबन्दी नगरपालिका-१७ रानिगंज डाँडा टोल नजिक रहेको आँपको बगैचामा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१७ बस्ने ६० वर्षीय बेचु बम्जन समेत ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४४ हजार ३ सय ४० रूपैयाँ र १२ बुक ताससहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
ट्रयाक्टरले किच्दा युवकको मृत्यु ढोरपाटन। बागलुङमा ट्रयाक्टरले किच्दा एक युवकको मृत्यु भएको छ। गलकोट नगरपालिका–११ रिघा मनेवामा ट्र्याक्टरले किच्दा पूर्वी नवलपरासी घर भई मनेवा मामाघर आएका २३ वर्षीय दिपेश सलामीको ज्यना गएको हो। बडिगाड गाउँपालिका–२ खर्बाङ बजारबाट गलकोट नगरपालिका–३ हटियाबजार आउँदै गरेको ध१त ६०९ नंको ट्र्याक्टर मध्यपहाडी लोकमार्गबाट खस्दा च्यापिएर सलामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक राजाराम खड्काले जानकारी दिए। ट्र्याक्टर लोकमार्गदेखि १५ मिटर तल होमबहादुर सिंजालीको घरमाथि खसेको थियो। घरमाथि खसेको ट्र्याक्टरले च्यापिँदा सलामी घाइते भएको र उद्धार गर्दागर्दै मुत्यु भएको खड्काले बताए। ट्र्याक्टर चालक गलकोट नगरपालिका–९ मा बस्दै आएका २३ वर्षीय डिक्सन पुनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। ट्र्याक्टरले पार्किङ गरी राखिएको लु६३प ९०९ नंको स्कुटर च्याप्दा पूर्णरूपमा क्षति भएको छ।
साबुन उत्पादनमा महिलाको सक्रियता बढ्दो रामपुर। महिलालाई आयआर्जनमूलक क्षेत्रमा अब्बल बनाउन रामपुर नगरपालिकाले सीपमूलक कार्यमा लगानी गरिरहेको छ। साबुन, सरफ, सिलाइकटाइ, चिप्स, अचार, स्वीटर, झोला, चप्पल, गुडिया, चुरापोते बनाउने सीप नगरपालिकाले प्रदान गर्दैआएको छ। नगरपालिकाको सहयोगमा सीपमूलक तालिम पाएपछि यहाँका महिलाले आयआर्जनमा जोड दिन थालेका छन्। हातमा सीप भयो भने महिला अरुको भरमा निर्भर रहनु पर्दैन। घरमै बसी–बसी आयआर्जन गर्न सकिन्छ। बिहान–साँझ घरायसी कामकाजमा व्यस्त रहने महिला दिउँसो फुर्सदको समय आयआर्जनमा खर्चेर सामान्य घरखर्च चलाउन सकिन्छ भन्ने उदाहरणीय कार्यमा सीता घर्ती, राधा खण्डलुक, निशा खड्का, पूजा जिसी, केशमाया राउत, सरिता खड्कालगायत लागिरहेकी छन्। रामपुर नगरपालिका–२ स्थित सिम्लेमा ‘अग्र्यानिक साबुन उद्योग’का नाममा समूहमा महिलाले नुहाउने साबुन तयार पारिरहेका छन्। साबुन बनाउने छ दिनको तालिम नगरपालिकाले दिएपश्चात समूहमा मिलेर अहिले साबुन बनाउन थालेको अध्यक्ष सीता घर्ती बताउँछिन्। “स्थानीय उत्पादन भएकाले गाउँघरकै ग्राहकले खरिद गरिरहनुभएको छ, गाउँमा राम्रै खपत भइरहेको छ”, उनले भने। हाललाई गाउँघरमा हुने विभिन्न कार्यक्रम, बैठक, भेला, गोष्ठी, बजार जाँदा साथमै बोकेर साबुन लिएर जाने र व्यक्ति–व्यक्तिलाई साबुन बेच्ने गरिरहेको अध्यक्ष घर्तीले बताइन्। गत असारमा छ दिनसम्म साबुन बनाउने तालिम लिएपश्चात साउनदेखि नै व्यावसायिक उत्पादन सुरु गरिएको हो। भदौमा रामपुर नगरपालिकामा ‘अग्र्यानिक साबुन उद्योग’ नाममा संस्था दर्ता गरी साबुन बनाउन थालिएको अध्यक्ष घर्तीले बताइन्। हालसम्म एक हजार थानभन्दा बढी साबुन उत्पादन गरी बिक्री गरिएको छ। तालिममा सहभागीलाई नगरपालिकाले साबुन बनाउने सामग्री, कच्चा पदार्थ पेल्ने उपकरणलगायत उपलब्ध गराएपछि तालिमलगत्तै साबुन बनाउन महिलाले सुरु गरेका हुन्। निम, कागती, पाती, एलोभेरा, तुलसी पत्ता, मेवा, सुन्तला, मह आदिबाट साबुन तयार पारिएको सरिता खड्काले बताइन्। गाउँघरमा प्रशस्त मात्रामा पाइने कच्चा पदार्थबाट साबुन तयार पार्न सहज भएको छ। कच्चा पदार्थ तयार रहेको खण्डमा आधा घण्टादेखि बढीमा एक घण्टाको अवधिमा प्रयोग गर्न मिल्ने गरी साबुन तयार हुने गर्दछ। साबुन बनाउन थालेपछि सामान्य खर्चका लागि अरुसँग हात थाप्नु नपरेको र उत्पादन बढाएर आत्मनिर्भर बन्ने सोच राधा खण्डलुकले राखेकी छन्। यहाँ उत्पादन भएको साबुन हाल प्रतिथान रु ९० मा बिक्री भइरहेको छ। समूहमा उत्पादन भएको साबुनबाट आर्जन गरेको खर्चले उद्योगमा नै लगानी गरिरहेको र उत्पादन गरेको साबुन बिक्री गर्दा खर्च चलाउन सजिलो भएको केशमाया राउत बताउँछिन्। “हातमा सीप नहुँदा महिला पछाडि परियो, अहिले रामपुर नगरपालिकाले सीप दिएपछि हामीमा केही गर्नुपर्छ भन्ने जोश र आत्मबल बढेको छ, कच्चा पदार्थमा लगानी गर्न नपरेपछि राम्रै फाइदा हुने देखिएको छ”, उनले भनिन्। यहाँका छ महिलाले प्रतिव्यक्ति रु पाँच सयका दरले रकम उठाएर उद्योग सुरु गरेका हुन्। अहिले उनीहरुले साबुन बिक्रीबाट आर्जन गरेको रकम उद्योगमै लगानी गरिरहेका छन्। साबुन बनाउन आवश्यक पर्ने बेस तेल खरिद महँगो पर्ने र रामपुरमै उपलब्ध नहुँदा बाहिरबाट ल्याएर बनाउँदा कहिलेकाहीँ तेल अभावमा बनाउन समस्या पर्ने गरेको छ। प्रतिकिलो रु पाँच सय ५० मा पोखरा, दुलेगौडा बजारबाट ल्याउनुपर्दा केही आम्दानीको रकम ढुवानीमा खर्चनुपरेको छ। प्याकेजिङ मेसिनको आवश्यकता छ। गाउँका महिलाको आयस्रोत नहुँदा उद्योगमा ठूलो लगानी गर्न सक्ने अवस्था छैन। अनुदान र सामग्री सहयोग पाए उत्पादन बढाउने सोच छ। नुहाउने साबुनका साथै लुगा धुने साबुन बनाउने तालिमको आवश्यकता भएको राउत बताउँछिन्। रामपुर नगरपालिका–२ का वडाध्यक्ष कृष्ण दर्जीले यस वर्ष वडामा महिलालाई साबुन बनाउने सीप विकास तालिम आयोजना गरिएको र अर्को वर्ष व्यावसायिक साबुन उत्पादन गर्न बजेट विनियोजन गर्ने बताए। तालिममा सहभागी अधिकांश महिला साबुन बनाउन थालेका छन्। महिलालाई व्यवसायमा सहयोग गर्दै उत्पादन बढाउन उत्प्रेरित गर्ने र उद्यमीलाई थप सीप विकास गर्न गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रममार्फत पुर्नताजगी तालिम दिने तथा प्रविधि हस्तान्तरण गर्ने कार्यक्रम रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपाने बताउँछन्। महिला सशक्तीकरण र आर्थिक क्षेत्रमा उनीहरूलाई अब्बल बनाउन नगरपालिकाले सीपमूलक कार्यक्रममा लगानी गरिरहेको र लगानीअनुसार उपलब्धि राम्रै भइरहेको नगरप्रमुख रमणबहादुर थापा बताउँछन्। “नगरपालिकाभित्र उत्पादन भएका सामग्री बजारीकरण गर्न सहयोग गर्ने योजना बनाएका छौँ”, उनले भनिन्, “धेरै उत्पादन भए बजारीकरण गर्न सहज हुनेछ, उत्पादित सामग्री नगरले व्यवस्थापन गर्छ।” गरिबी निवारण लागि लघुउद्यम विकास कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षमा नगरपालिकाको वडा नं १ मा २० महिलालाई झोल साबुन उत्पादन र वडा नं ९ मा २० जनालाई चप्पल बनाउने तालिम प्रदान गरिएको छ। अघिल्ला आर्थिक वर्षमा वडा नं २ मा २५ जनालाई नुहाउने साबुन, वडा नं ३ मा १० जनालाई सिलाइकटाइ, वडा नं ३ र ४ वडाका २० जनालाई संयुक्तरूपमा दुनाटपरी, वडा नं ५ मा १० जनालाई ढाका बुनाइ, वडा नं ६ मा ३० जनालाई आलु चिप्स, वडा नं ७ मा ११ जनालाई पशुपालन, कृषि, वडा नं ८ मा १८ जनालाई सरफ, वडा नं ९ मा चप्पल बनाउने तालिम सञ्चालन भइसकेको छ भने वडा नं १० मा कार्यक्रम हुन बाँकी छ। आव २०७७/७८ देखि रामपुर नगरपालिकाभित्र सुरु भएको यस कार्यक्रमअन्तर्गत विभिन्न सीपमूलक तालिम सम्पन्न भइसकेका छन्। यस कार्यक्रमअन्तर्गत उद्यमी बनाउन छ चरणमा कार्यक्रम चलाइएको छ। सामाजिक परिचालन, उद्यमशीलता (व्यवसायसम्बन्धी ज्ञान, सीप दिने), सीप विकास तालिम, प्रविधि हस्तान्तरण, लघुवित्तमा पहुँच र बजारीकरण छन्। कार्यक्रम लागू भएदेखि हालसम्म सामाजिक परिचालन, उद्यमशीलता, सीप विकास तालिम कार्यक्रम सम्पन्न भइसकेका छन् भने प्रविधि हस्तान्तरण, लघुवित्तमा पहुँच र बजारीकरणको कार्यक्रम गर्न बाँकी छ। चालु आवमा गरिबी निवारण लागि लघुउद्यम विकास कार्यक्रम सञ्चालन गर्न सङ्घीय सरकारबाट रु ३५ लाख बजेट प्राप्त भएको छ। सो बजेटमध्ये रु २३ लाख ८० हजार नयाँ लघुउद्यमी सिर्जना, रु छ लाख २० हजार स्तरोन्नति, उद्यमीघर तयार पार्न रु पाँच लाख बजेटबाट कार्यक्रम सञ्चालन गरिरहेको उद्यम विकास सहजकर्ता रुपबहादुर सिंजालीले जानकारी दिए।
नारायणगढ–बुटवल सडक धमाधम कालोपत्र नवलपुर। विस्तारका क्रममा रहेको पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल खण्डमा धमाधम कालोपत्र भइरहेको छ। गैँडाकोटको भेडाबारी क्षेत्रमा गरिएको परीक्षण सफल भएपछि कावासोती क्षेत्रमा हाल कालोपत्रको काम भइरहेको छ। सडक निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इञ्जीनियरिङ कर्पोरेशन लिमिटेडका ठेक्का व्यवस्थापक राजेश झाले हालसम्म तीन किलोमिटरभन्दा बढी सडक कालोपत्र गरिएको जानकारी दिए। “हामीले यस वर्ष २० किलोमिटरभन्दा बढी कालोपत्र गर्ने योजनाका साथ काम गरिरहेका छौँ”, उनले भने, “गैँडाकोटको भेडाबारीबाट झराही खोला, रजहरमा दुई किलोमिटर क्षेत्र तथा देवचुलीको लोकाहाबाट कावासोतीको डण्डासम्म कालोपत्र गर्ने गरी काम अगाडि बढाएका छौँ।” अहिले कालोपत्र भइरहेको क्षेत्रबाहेक थप पाँच किलोमिटर सडक कालोपत्रको तयारी छ। सडक विस्तारका लागि निर्माण कम्पनीले एक हजारभन्दा बढी जनशक्ति तथा दुई सय बढी उपकरणको प्रयोग गरिरहेको झाले बताए। सडक विस्तारका लागि ८० टिपर, ३० एक्साभेटर, १३ सेट रोलर र १३ सेट ग्रेडर तथा डोजरसहितका उपकरणको प्रयोग गरिएको छ। डण्डास्थित अक्सपाल्ट प्लान्टबाट उत्पादित सामग्री लगेर कालोपत्रको काम भइरहेको छ। चालु आर्थिक वर्षभित्र ५० प्रतिशत काम सक्ने लक्ष्य रहेको भए पनि वर्षातलगायत कारण काममा ढिला हुनसक्ने ठेक्का व्यवस्थापक झाले बताए। नारायणगढ–बुटवल सडक विस्तार योजना पूर्वी खण्डका सूचना अधिकारी इञ्जीनियर धीरज ढकालले हालसम्मको प्रगति ३० दशमलव पाँच प्रतिशत रहेको बताए। हाल सो सडकमा कल्भर्ट निर्माणलगायत काम भइरहेको छ। उनले भने, “मासिक तीन प्रतिशतभन्दा बढी प्रगति हुने गरी काम भइरहेको छ।” सडक विस्तारका लागि माटो फिलिङ गर्ने, बिजुलीको पोल सार्ने काम सँगसँगै भइरहेको छ। सडक विस्तारका लागि आवश्यक पर्ने माटो, ढुङ्गा, गिट्टीलगायत कच्चा पदार्थको समस्या छैन। माटो तथा ढुङ्गा, गिट्टीका लागि स्थानीय तहले सहयोग गरेका छन्। चार वर्षअघि विस्तारको काम सुरु भएको नारायणगढ–बुटवल खण्डको सहरी क्षेत्रमा चार लेनका अतिरिक्त दुई लेन तथा ग्रामीण क्षेत्रमा चार लेनमा राजमार्ग फराकिलो गरिँदै छ। दाउन्ने पहाडको पाँच किलोमिटर क्षेत्रमा भौगोलिक अवस्थाका कारण सडक तीन लेन विस्तार गर्ने गरी ठेक्का सम्झौता गरिएको छ।
सिक्किम हिमपहिरोमा परी तीन नेपालीसहित सात जनाको मृत्यु काठमाडाैं। सिक्किमको गान्तोक-नाथुला सडक खण्डमा गएको हिमपहिरोमा परी तीन जना नेपाली नागरिकको मृत्यु भएको छ। घटनामा अन्य चार जनाको मृत्यु भएको जनाइएको छ। हिमपहिरोमा परी अन्य १२ जना घाइते भएको इन्डियन एक्सप्रेसले जनाएको छ। मृत्यु हुने नेपालीहरुमा चितवनका शिवप्रसाद लामिछाने र आशिका ढकाल र रुपन्देहीकी मुना शाह श्रेष्ठ रहेको गान्तोकका अधिकारीहरुले जनाएका छन्। अन्य मृतकहरु भारतको उत्तरप्रदेश, पश्चिम बंगाल र कोलकाताका छन्। स्थानीय समय अनुसार मंगलबार दिउँसो सवा १२ बजेतिर गान्तोक-नाथुलापास जोड्ने जवाहरलाल नेहरु सडकमा हिमपहिरो खसेको थियो। हिमपहिरोमा ५-६ वटा सवारी साधनसहित २०/३० जना पर्यटक पुरिएको आशंका गरिएको छ।
भारतबाट घर फर्किनेहरू कोरोनाको उच्च जोखिममा काठमाडौं। पछिल्लो समय नेपालमा कोरोना संक्रमण बढ्दै गएको छ। पछिल्लो दुई सातायता नेपालमा कोरोना संक्रमितको संख्या नियमित बढिरहेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार सोमबारसम्ममा देशभर सक्रिय संक्रमितको संख्या २२७ पुगेको छ। नेपालमा अहिले संक्रमितको संख्या बढ्नुमा ओमिक्रोनको नयाँ सब भेरियन्ट एक्सबीबी.१.१६ मुख्य कारक देखिएको छ। भारतमा गत जनवरीको दोस्रो साता एक्सबीबी.१.१६ नामक नयाँ सब भेरियन्ट देखिन सुरु भएको थियो। यो ओमिक्रोनको सब भेरियन्ट रहेको विज्ञहरूले बताउँदै आएका छन्। भारतको गुजरात, तेलंगाना, महाराष्ट्र, कर्नाटक लगायतका राज्यमा फैलिएको यो भाइरस नेपालमा भारतबाट नेपाल भित्रिने नाकामा देखिएका संक्रमितहरूमा बढी देखिएको छ। भारतमा उक्त भाइरस देखिएसँगै भारतबाट घर फर्किएका नेपालीहरूमा कोरोना संक्रमण देखिन थालेको छ। भारतबाट नेपाल आएकाहरूमा कोरोना देखिएसँगै परीक्षणको दायरा पनि बढाइएको जमुनाहा नाका हेल्थ डेस्क प्रमुख गीता गिरी शाहीले बताइन्। चैत महिनामा मात्र ३० जनामा कोरोना पुष्टि भएको उनले जानकारी दिइन्।
मान्द्रा बुनेरै जीविकोपार्जन चौतारा। जब बिहानी हुन्छ, सेतै फुलेको दारी, सेतै फुलेको कपाल, चाउरिएको मुहार। शिरमा ढाकाटोपी, खुट्टामा चप्पल। बाँस र निगालोको चोयासँगै आफ्नो कर्मको सुरुवात गर्छन् सिन्धुपाल्चोकको जुगल गाउँपालिका-१ लामिडाँडाका ग्याल्बो शेर्पा। उमेरले ७० टेकेका शेर्पा सानैदेखि डोको र डाला बनाउन सक्रिय रहँदै आएका छन्। जब गाउँमा कसैको बिहे हुन्छ, कोसेली लैजानका लागि प्रयोग गरिने डोको, फुवा तथा डालो बनाउने जिम्मा स्थानीयले उनलाई दिने गर्छन्। वृद्धा अवस्था लाग्दा पनि शेर्पा आफ्नो पेसालाई नछोडी युवा जस्तै सक्रिय रही आफ्नो कर्म गर्दै आएका छन्। ‘डोको बनाउँदा दिन बितेको पत्तै पाउँदैन, एक दिनमा चार वटासम्म डोको बनाउन सक्छु’, उनले भने। शेर्पासँग डोको, डालो र मान्द्रा बनाउने सीप भए पनि बजारको अभाव छ। माग नहुँदा बिक्री गर्न समस्या भएको उनको भनाइ छ। शेर्पाले १६ वर्षको उमेरदेखि नै डालो बुन्न थालेका हुन्। घरमै आएर किसानले मान्द्रा किन्न थालेपछि उनको व्यस्तता बढेको हो। मान्द्रा बिक्री गरेर शेर्पाले घर खर्च मात्र टार्दै आएका छैनन्, आफ्ना छोराछोरीलाई सदरमुकाम चौतारा राखेर पढाउने खर्चको जोहो गर्दै आएका छन्। आम्दानीको अन्य स्रोत नभएको र मान्द्रा बुनाइ नै आफ्नो आम्दानीको स्रोत भएको उनको भनाइ छ। धान विटा लगाउने मौसम भएकाले पनि यो बेला भकारी बनाउनका लागि मान्द्राको माग अत्याधिक हुने गरेको छ। एउटा मान्द्रा तयार गर्न झण्डै तीन दिन लाग्छ। मान्द्रा दुई हजार दुई सयमा बिक्री हुने गरेको शेर्पा बताउँछन्। मान्द्रा बनाउन चाहिने निगालो स्थानीय जंगलबाट निःशुल्क उपलब्ध हुन्छ। अरु बेलामा त्यति बिक्री नभए पनि कोदो र धान भित्र्याउने बेलामा भने मान्द्राको माग अत्यधिक हुने गरेको सो वडाका कर्मा स्याङ्बो बताउँछन्। उनी पनि मान्द्रा बुनेर बेच्छन्। ‘उमेरमा यस्तै सिकियो, यसबाटै परिवारको खर्च धानेको छु’, उनले भने, ‘छोराछोरीले सिक्न छाडेका छन्। कसरी पुस्ता धानिएला भन्ने चिन्ता छ ।’ युवा पुस्ता विदेश जान थालेकाले सीप हराउने चिन्ता छ। अन्न उब्जाउन जमिन छैन। कमाउन अरु इलम छैन। यहाँका अधिकांशले आलु खेती गर्दै आएका छन्। आलु खेतीबाट स्थानीय आत्मनिर्भर बन्न सकेका छैनन्। मकै र कोदो खेतीमा निर्भर रहँदै आएका यहाँका स्थानीय बँदेललगायत जंगली जनावारले दुःख दिँदा हैरान छन्। आलु खेतीको राम्रो सम्भावना भएकाले ‘आलु पकेट क्षेत्र’का रुपमा विकास गर्न सके स्थानीयलाई आत्मनिर्भर बनाउन सकिन्छ। रासस
आजको मौसमः देशका पहाडी भू-भागमा मेघगर्जनसहित पानी पर्ने संभावना काठमाडाैं। हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ। राति भने देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन र चट्याङबाट हुन सक्ने क्षति बाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
धर्मले राष्ट्रिय एकतालाई बलियो बनाउछः उपराष्ट्रपति काठमाडौं। उपराष्ट्रपति रामसहायप्रसाद यादवले सबै धर्मले शान्ति, सामाजिक सहिष्णुता एवं भातृत्वअभिवृद्धिमा सहयोग पुग्ने बताएका छन्। जैन धर्मका प्रणेता भगवान महावीरको २६२२औँ जन्मोत्सवको अवसरमा नेपाल जैन परिषद्ले आज आयोजना गरेको समारोहमा उनले धर्मको माध्यमबाट समाज र राष्ट्रलाई भावनात्मक एकता बलियो बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे। उपराष्ट्रपति साहले भने, “धर्मको विभिन्न प्रकार भए पनि सबै धर्मको लक्ष्य एउटै हुन्छ। धर्मको परिभाषा र प्रभाव सार्वजनिक हितको भावनाबाट ओतप्रोत हुने भएकाले जनकल्याणलाई केन्द्रमा राखेको हुन्छ।” अहिंसा, अपरिग्रह र अनेकान्तबादका प्रणेता भगवान महावीरले प्रतिपादित गर्नुभएका सिद्धान्त र विचार वर्तमानमा अझ बढी प्रासङ्गीक एवं समयसान्दिर्भिक भएको उनले उल्लेख गरे। उपराष्ट्रपति साहले नेपाल आफैमा ऋषिमुनिहरुले तपस्या गरेको र भगवान ऋषवदेव, नविनाथ, मल्लिनाथ, पाश्र्वनाथ, महावीर एवं आचार्य स्थूलिभद्र स्वामी जस्ता महापुरुषको प्रभाव क्षेत्र रहेको हुनाले हामी नेपालीहरु आफूलाई गौरवान्वित ठान्ने बताए। उनले दुराग्रह, अनेकान्तवाद, आग्रहीनताले पारिवारिक, सामाजिक र विश्वशान्तिका लागि वर्तमानमा आम जनमानस साकाहारी संयमी एवं मितव्यही हुन आवश्यक रहेको खाँचो आँैंल्याए। नेपालमा जैनर्धालम्बीहरु सबै ठाउँमा विभिन्न समुदायकाबिचमा मिलेर बसोबास गरिरहेका र उनीहरु जहाँ रहेपनि भगवान महावीरका सिद्धान्त अनुशरण गर्दै धार्मिक, सांस्कृतिक र समाजसेवाका माध्यमबाट सकारात्मक छाप छोड्न सफल भएको उपराष्ट्रपति साहको भनाइ छ। धर्मले संसारको नीति नियमलाई व्यवहारिक बनाउन प्रेरित गरेको बताउँदै उनले अहिंसा, शान्ति, एकान्तवाद, नैतिकताको प्रचारप्रसार जैनधर्मको महत्वपूर्ण पक्षलाई जनजनमा पुर्‍याउन परिषद्ले भूमिका खेल्नुपर्नेमा जोड दिए। कार्यक्रममा समर्णनिर्देशिका डा निर्माण प्रज्ञाले भवगान महावीर एक व्यक्ति मात्र नभइ चेतना, सन्देश हो भन्दै विश्व शान्ति तथा मानव र जीजन्तुको कल्याणका निम्ति उहाँको सिद्धान्तलाई आत्मसाथ गरेर अघि बढ्नुपर्नेमा जोड दिए। जैनधर्म परिषद्का अध्यक्ष महेन्द्रकुमार जैनले जैन धर्मको आफ्नो मौलिक तत्वज्ञान, अद्भूत दृष्टि अर्थात समग्रमा एउटा जीवन्त धर्म भएकाले आजको सन्दर्भमा पनि जैन धर्मको महत्व सान्दर्भिक बनिरहेको उल्लेख गरे। सो अवसरमा ‘जिन संसार’ नामक स्मारिका विमोचन गरिएको थियो। यसअघि जन्मोत्सवको अवसरमा बिहान प्रभातफेरि आयोजना गरिएको थियो। चैत २१ गते भगवान महावीरको जन्मोत्सव नेपालसहित विश्वका विभिन्न मुलुकमा जैन–अजैन समुदायले हर्षोउल्लासका साथ मनाउदै आएका छन्।
विपद् जोखिम न्यूनीकरण राष्ट्रको एजेण्डा बन्नुपर्छः गृहमन्त्री श्रेष्ठ काठमाडौं। उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद् जोखिम न्यूनीकरण राष्ट्रको एजेण्डा बन्नुपर्ने बताएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यालय पुगेर उनले प्राधिकरणले गरिरहेका कामको जानकारी लिने क्रममा नेपाल जलवायु परिवर्तनको जोखिममा रहेकाले यसको न्यूनीकरण तथा व्यवस्थापनका कामलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए। उपप्रधानमन्त्री श्रेष्ठले विपद्का ठूला घटना भएपछि त्यसको चर्चा हुने तर भविष्यमा हुनसक्ने विपद् कम गर्नेतर्फ पर्याप्त काम नहुने अवस्थाको अन्त्य गर्नुपर्ने उल्लेख गर्दै यसतर्फ ठोस पहलकदमी लिइने विश्वास व्यक्त गरे। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री श्रेष्ठले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठक यथाशीघ्र बसी रणनीतिक र तत्काल गर्नुपर्ने दुवै खालका कार्यलाई अगाडि बढाइने बताए। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले विपद्को पछिल्लो अवस्था, प्राधिकरणले तर्जुमा गरेका कार्यविधि तथा निर्देशिका एवं विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको प्रभावकारिताका लागि गृहमन्त्रालयसँग प्राधिकरणले गरेका अपेक्षाबारे ब्रिफिङ गरेका थिए। सो क्रममा उनले हरेक वर्ष बढिरहेका विपद्का घटनाले ठूलो मानवीय तथा भौतिक क्षति गरिरहेकाले प्राधिकरणले जोखिम न्यूनीकरणलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए। कार्यकारी प्रमुख पोखरेलले आगामी वर्षको मनसुनबाट हुनसक्ने क्षतिलाई मध्यनजर गरेर अहिल्यै गर्नुपर्ने तयारीका बारेमा समेत उपप्रधानमन्त्री श्रेष्ठलाई जानकारी गराएका थिए।
७५ प्रतिशत मल आयात गर्न टेण्डर भइसकेको छः मन्त्री डा. भुसाल काठमाडौं। कृषि तथा पशुपन्क्षी विकासमन्त्री डा वेदुराम भुसालले कृषि क्षेत्रमा देखिएका समस्या समाधान गर्न आफू केन्द्रित हुने प्रतिबद्धता व्यक्त गरेका छन्। राष्ट्रियसभाको आजको बैठकमा समय लिएर बोल्दै उनले मल, बीउको अभाव, सिँचाइ, कृषि उत्पादनको बजारीकरण, कृषिको आधुनिकीकरण र औद्योगिकीकरणमा आफ्नो ध्यान केन्द्रित भएको बताए। “मल आउन ढिला हुन्छ भन्ने सबैलाई थाहा छ, तर मल आउन ढिला हुने प्रक्रियालाई छिटो बनाउन सबैको पहल हुनुपर्छ”, उनले भने, “आवश्यक मलको ७५ प्रतिशत बढीको टेण्डर भइसकेको छ, केही आउने क्रममा छ। यो हाम्रो हातमा मात्रै छैन, विदेशको यातायात व्यवस्थाले कति सहयोग गर्छ भन्ने कुरामा निर्भर गर्छ।” आगामी वर्षको नीति कार्यक्रम र बजेट तर्जुमाको चरणमा रहेकाले आफूले सांसदसँग सुझाव मागेको बताए। जनताको जीवनसँग प्रत्यक्ष जोडिएको मन्त्रालयको नेतृत्व आफूले गरेको भन्दै उनले अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको कृषि क्षेत्रमा देखिएका समस्यमा समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे। “लामो समयदेखि समयमै मल आपूर्ति नहुने समस्या समाधान कसरी गर्न सकिएला? ठूलो प्रश्न खडा भएको छ”, उनले भने, “मल अभावमा कृषियोग्य जमिन अहिले बाँझो छ, त्यसलाई पुनःखेतीयोग्य जमिनमा परिणत गर्नुपर्छ ।” उनले कृषिजन्य उत्पादनलाई बजारसँग जोड्नु आवश्यक रहेको बताए। मन्त्री भुसालले कृषिलाई उत्पादनमा आधारित उद्योगको निर्माण कसरी गर्ने, कृषिलाई कसरी आधुनिकीकरण, यान्त्रीकरण र बजारीकरण गर्ने भन्ने विषय ज्वलन्त उठेको बताए। उनले कृषि क्षेत्रमा देखिएका समस्या समाधान गर्न सांसदको सुझाव आफूले चाहेको र प्राप्त सुझावका आधारमा मात्रै आफू अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
वीरगञ्जस्थित प्रादेशिक कार्यालय परिसरमा फोहोर फालेको घटनाप्रति टेलिकमको खेद प्रकट काठमाडौं। नेपाल टेलिकमको वीरगञ्जस्थित प्रादेशिक निर्देशनालय मधेश प्रदेशको कार्यालय परिसरमा फोहोर फालेको घटनाका सम्बन्धमा नेपाल टेलिकमले खेद प्रकट गरेको छ। प्रादेशिक निर्देशनालयको कम्पाउण्ड भित्र चैत २१ गते गते बिहान ९ः१५ बजे अचानक १५/२० जना अनिाधिकृत व्यक्तिहरुको समूहले प्रादेशिक निर्देशनालयको मूल ढोकाका गार्डहरुलाई धम्क्याइ कार्यालयको कम्पाउण्डभित्र ५/७ ट्रयाक्टर फोहोर फालेको घटनाप्रति कम्पनीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। फोहोर फालेर वातावरण दुर्गन्धित भई स्वास्थ्यमा प्रतिकूल असर पर्ने देखिनुका साथै कार्यालयको काम गर्ने वातावरणमा समेत नकारात्मक असर पर्न गएको टेलिकमले जनाएको छ। उक्त अमर्यादित कार्यको भत्र्सना गर्दै कम्पनी भविष्यमा यस्ता अवान्छित घटना हुन नदिन टेलिकमले ध्यानाकर्षण गरेको छ।
भरुवा बन्दुक पड्किँदा बालिकाको मृत्यु, तीन घाइते सल्यान । सल्यानको कालीमाटी गाउँपालिकास्थित स्थानीय बेलबहादुर आलेको घरमा भरुवा बन्दुक पड्किँदा एक बालिकाको मृत्यु भएको छ । त्यसको छर्रा लागेर तीन जना घाइते भएका छन् । आलेको घरको आँगनमा खेल्दै गरेको क्रममा बन्दुक पड्किँदा छर्राले लागेर कालिमाटी गाउँपालिका ७ स्वायनवासकी ९ वर्षीया पुजा घर्तीको मृत्यु भएको हो । ३ वर्षीया देवी घर्ती, ५ वर्षीया यमुना आले र ८ वर्षीय तेजेन्द्र आले घाइते भएका छन् । घाइते भएकी यमुना आलेलाई थप उपचारका लागि काठमाडौं लगिएको छ भने अन्य दुई जनालाई नेपालगन्जमा उपचार गरिएको छ ।
सहकारी महासम्मेलन चैत २३ गतेदेखि २५ सम्म काठमाडौंमा हुने काठमाडौं। सहकारीको दिगोपनका लागि स्वनियम तथा सुशासन भन्ने मूल नाराका साथ तेश्रो राष्ट्रिय सहकारी महासम्मेलन चैत २३ गतेदेखि काठमाडौंमा सुरु हुने भएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र राष्ट्रिय सहकारी महासंघ नेपालको संयुक्त आयोजनामा हुने महासम्मेलन चैत्र २५ गतेसम्म चल्ने छ। यस महासम्मेलनमा ११ वटा विषयमा व्यापक छलफल हुनेछ । जसमा पूर्व अर्थमन्त्री, मन्त्रीहरु, पुर्व गभर्नर, सचिवहरुसहित अन्तराष्ट्रिय सहकारी विज्ञहरुको प्रस्तुति रहने छ। साथै, अस्ट्रेलिया, जापान, भारत लगायतका विज्ञहरुको पनि मुख्य प्रस्तुति महासंघका अध्यक्ष मीनराज कँडेलले जानकारी दिए। महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा प्रत्येक ५ र ५ वर्षमा राष्ट्रिय सहकारी महासम्मेलन हुदै आएको छ।
प्रधानमन्त्रीसमक्ष ओहोदाको प्रमाणपत्र पेश काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष नेपालका लागि संयुक्त राष्ट्र सङ्घका नवनियुक्त आवासीय संयोजक हाना सिङ्गर हाम्देले ओहोदाको प्रमाणपत्र पेश गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज उनले परराष्ट्र मन्त्रालयको जिम्मेवारी पनि सम्हालेका प्रधानमन्त्री दाहाल समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका हुन्।
भूतपूर्व सैनिक सम्मेलन सम्पन्न मन्थली। नेपाली सेनाको भूतपूर्व सैनिक सम्मेलन–२०७९ अन्तर्गत आज दोलखा, रामेछाप र सिन्धुलीमा बसोबास गर्ने भूतपूर्व सैनिक तथा सैनिक एकल महिलाको सहभागितामा भूपू सैनिक सम्मेलन सम्पन्न भएको छ। श्री नं ९ बाहिनी अड्डाअन्तर्गत सम्पन्न सम्मेलनको मूल समारोहस्थल रामेछापको मन्थलीमा प्रमुख अतिथिका रुपमा प्रधानसेनापति प्रभुराम शर्माले सम्बोधन गरेका थिए भने दोलखाको चरीकोट र सिन्धुलीको माझीटारमा श्री मध्य पूर्वी पृतनाका चिफ अफ स्टाफ सहायक रथी हेमराज केसी र श्री नं २७ बाहिनीपति सहायक रथी भरतचन्द्र गुरुङ प्रमुख अतिथि थिए। सम्मेलनको दौरान मन्थलीबाट दोलखा र सिन्धुलीका समारोहस्थलका सहभागीलाई समेत प्रविधिका माध्यमबाट प्रधानसेनापति शर्माले सम्बोधन गरेका थिए। मूल समारोहस्थलमा दोलखा जिल्ला निवासी ९४ वर्षीय मानार्थ उपसेनानी कटकबहादुर तामाङ (अ प्रा) र स्व सिपाही रत्न बहादुर खड्का (अ प्रा) को श्रीमती सिन्धुली जिल्ला निवासी ९८ वर्षीया एकल महिला लिलामाया खड्कालाई सम्मान गरिएको थियो। यसैगरी सर्वोत्कृष्ट लघुउद्यमी÷व्यवसायी दुई जनालाई प्रशंसापत्र एवं पुरस्कार वितरण गरिएको थियो। सोही क्रममा चार वा सोभन्दा बढी सन्तति नेपाली सेनामा रहेका पाँच अभिभावकलाई सम्मान, फरक क्षमता भएका तथा अशक्त पाँच जनालाई ह्विलचियर तथा बैसाखी र विभिन्न सहुलीयतपूर्ण कर्जा प्राप्त गर्ने व्यक्तिलाई चेक वितरण गरिएको थियो। यस्तै, चरिकोटस्थित समारोहस्थलमा दोलखा जिल्ला निवासी ९६ वर्षीय हुद्धा चन्द्रबहादुर कार्की (अ प्रा) र स्व अमल्दार रङ्गध्वज कार्की (अ प्रा) को श्रीमती ९४ वर्षीया एकल महिला मानकुमारी कार्कीलाई सम्मान गरिएको थियो। साथै फरक क्षमता भएका तथा अशक्त दुई जनालाई ह्विलचियर तथा बैसाखी वितरण गरिएको थियो। त्यसैगरी, सिन्धुलीको माझीटारस्थित समारोहस्थलमा फरक क्षमता भएका तथा अशक्त तीन जनालाई ह्विलचियर तथा बैसाखी वितरण गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशानालयले जनाएको छ। भूपू सैनिकको तर्फबाट प्रादेशिक रथीवृन्द प्रतिनिधि उपरथी डा सुनिलकुमार सिंह (अ प्रा) तथा नेपाल राष्ट्रिय भूतपूर्व सैनिक सङ्घका महासचिव प्रमुख सेनानी श्यामसुन्दर घिमिरे (अ प्रा)ले मन्तव्य राख्दै अवकाशप्राप्त सैनिक र आश्रित परिवारजनलाई पुर्‍याउँदै आएको सहयोगका लागि नेपाली सेनाप्रति आभार प्रकट गरेका थिए। सेनाका बलाध्यक्ष रथी सीताराम खड्काले समापन मन्तव्य राख्दै हरेक वर्ष आयोजना हुने यस किसिमको सम्मेलन कल्याणकारी गतिविधिको पुनरावलोकनका लागि सहयोगी हुने बताएका थिए। कार्यक्रममा नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त रथीवृन्द तथा अधिकृत, नेपाली सेना कल्याणकारी बोर्डका प्रमुख कार्यकारी अधिकृत रथी गौरव तण्डुल (अ प्रा), जनप्रतिनिधि, जिल्लास्थित सुरक्षा निकायका पदाधिकारी, नेपाल इन्भेष्टमेन्ट मेघा बैंकका प्रमुख कार्यकारी अधिकृत, बहालवाला एवं अवकाशप्राप्त सैनिक तथा परिवारका साथै सञ्चारकर्मीको उपस्थिति रहेको थियो। सम्मेलनको अवसरमा तीनवटै समारोहस्थलमा सैनिक मेडिकल टोलीद्वारा स्वास्थ्य शिविर सञ्चालन गरी स्वास्थ्योपचार सेवा प्रदान गरिएको थियो। योसँगै यस वर्षको भूपू सैनिक सम्मेलनका कार्यक्रम सम्पन्न भएका निर्देशनालयले जनाएको छ।
नाबालिगमाथि सामूहिक बलात्कार गर्ने दुईजना पक्राउ काठमाडौं । नाबालिगमाथि सामूहिक बलात्कारको आरोपमा दुईजना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुुसन्धान कार्यालयले मंगबार अपरान्ह जारी गरेको विज्ञप्तिअनुसार ग्राण्डी अस्पताल नजिक रहेको गेष्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुईजनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–३ घर भई हाल काठमाडौंको टोखा नगरपालिका–६ धापासी बस्ने २१ वर्षाीय  आशिष भन्ने निमा तामाङ र काभ्रेपलाञ्चोक महाभारत गाउँपालिका–७ घर भई हाल टोखा–६ धापासी बस्ने २१ वर्षीय कुशल श्रेष्ठ रहेका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार निमा तामाङले नक्कली फेसबुक आईडी खोलेर पीडितलाई साथी बनाएर भेटघाट गरेका थिएइ । गत ६ फागुनमा तामाङ र श्रेष्ठले ग्राण्डी अस्पताल नजिक रहेको गेष्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । आरोपी दुवैजनालाई सोमबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरी थप अनुसन्धान र कारबाहीका लागि प्रहरी वृत्त महाराजगञ्ज पठाइएको प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।
तिलगंगालाई अन्तर्राष्ट्रिय आँखा उपचारको हब बनाउन प्रस्ताव काठमाडौँ। तिलगंगालाई अन्तर्राष्ट्रिय आँखा उपचारको हब बनाउनुपर्ने मौखिक प्रस्ताव गरिएको छ । मंगलबार बसेको राष्ट्रिय सभा बैठकको शून्य समयमा एकीकृत समाजवादीकी सांसद मदन कुमारी शाह गरिमाले तिलगंगालाई अन्तर्राष्ट्रिय आँखा उपचारको हब बनाउने गरी बजेट व्यवस्था गर्नुपर्ने बताएकी हुन्  । आँखाको लेन्स उत्पादन उद्योगलाई पर्याप्त आर्थिक सहयोग गरेर तिलगंगालाई अन्तर्राष्ट्रिय आँखा उपचारको हब बनाउनुपर्ने उनको भनाइ छ ।
त्रिभुवन विमानस्थलमा ट्याक्सी चालक आन्दोलनमा काठमाडाैं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा पार्किङ शुल्क महंगाे भएको भन्दै ट्याक्सी चालकहरुले विरोध जनाएका छन्। विमानस्थलमा पार्किङ गरेपछि न्युनतम नै ८० रुपैयाँ तिर्नुपरेकाले न्युनतम पार्किङ शुल्क कायम गर्नुपर्ने माग राख्दै उनीहरुले विरोध प्रदर्शन गर्दै केहीबेर सेवा बन्द गरेका हुन्। पार्किङ भाडा बढाएका कारण आफूहरु मारमा परेको उनीहरुले गुनासो गरेका छन्। नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, एयरपोर्ट मिटर ट्याक्सी इकाइ समितिका अध्यक्ष दिलबहादुर शाक्यले विमानस्थल क्षेत्रमा पार्किङ शुल्क महंगाे भएको र आफूहरुमाथि ज्यादती गरेको भन्दै सेवा बन्द गर्नुपरेको बताए। विमानस्थलको जग्गा आईएमएस एयरपोर्ट सर्भिस नामको कम्पनीले भाडामा लिएको छ। यसअघि २० रुपैयाँ लिने गरेकोमा अहिले ८० रुपैयाँ लिएको र यसबाट सर्वसाधारणसँगै महंगाे भाडा लिनुपरेको मजदुरहरुले जनाएका छन्। यस बिषयमा धेरै पटक पत्रचार गर्दा पनि सम्बन्धी निकायले कुनै सुनुवाई नगरेकाले बाध्य भएर आन्दोलन गनुपरेको उनीहरुले जनाएका छन्।
पार्किङ शुल्क महङ्गो भएको भन्दै ट्याक्सी चालक आन्दोलित (भिडियो) काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा पार्किङ शुल्क महङ्गो भएको भन्दै ट्याक्सी चालकहरुले विरोध जनाएका छन् । विमानस्थलमा पार्किङ गरेपछि न्युनतम नै ८० रुपैया तिर्नुपरेकाले न्युनतम पार्किङ शुल्क कायम गर्नुपर्ने माग राख्दै उनीहरुले विरोध प्रदर्शन गर्दै केहिबेर सेवा बन्द गरेका हुन् । पार्किङ भाडा बढाएका कारण आफुहरु मारमा परेको उनीहरुले गुनासो गरेका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, एयरपोर्ट मिटर ट्याक्सि इकाइ समितिका अध्यक्ष दिल बहादुर शाक्यले विमानस्थल क्षेत्रमा पार्किङ शुल्क महङ्गो भएको र आफुहरुमाथि ज्यादती गरेको भन्दै सेवा बन्द गर्नुपरेको बताएका छन् । विमानस्थलको जग्गा आईएमएस एयरपोर्ट सर्भिस नामको कम्पनीले भाडामा लिएको छ । यसअघि २० रुपैया लिने गरेकोमा अहिले ८० रुपैया लिएको र यसबाट सर्वसाधारणसंगै महङ्गो भाडा लिनुपरेको मजदुरहरुले जनाएका छन् । यस बिषयमा धेरै पटक पत्रचार गर्दा पनि सम्बन्धी निकायले कुनै सुनुवाई नगरेकाले बाध्य भएर आन्दोलन गनुपरेको उनीहरुले जनाएका छन् । हेर्नुहोस् भिडियो:
सङ्क्रमण देखिने बित्तिकै आइसोलेसनमा बस्न स्वास्थ्य मन्त्रालयको आग्रह काठमाडाैं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमणको लक्षण देखिना साथ आइसोलेसनमा बस्न अनुरोध गरेको छ। मन्त्रालयले सूचना जारी गर्दै कोरोना भाइरस सङ्क्रमण देखिनासाथ परीक्षण गराई आइसोलेसनमा बस्न सबैमा अनुरोध गरेको हो। “अस्तिको पानीमा भिजेको, हिजो चिसो खाएको र आज धुलोमा गएको भनेर बाहना नगराैँ, मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, “कोभिड-१९ का लक्षण देखिने बित्तिकै परीक्षण गराऔँ र आइसोलेसनमा बसौँ।” मन्त्रालयले हरेक रुघा, हरेक खोकी र हरेक ज्वरो अन्य प्रमाणित नभएसम्म कोभिड-१९ हुने सक्नेसमेत भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ। नेपालमा पहिलो पटक कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि. १.१६ देखा परेको छ। अहिले छिमेकी मुलुक भारतमा पनि सोही नयाँ भेरियन्टका कारणले सङ्क्रमण बढिरहेको छ। मन्त्रालयले सङ्क्रमण बढिरहेकाले रोकथाम र नियन्त्रणका लागि सबै तह र तत्काबाट प्रभावकारी भूमिका निभाउनसमेत आग्रह गरेको छ। कोभिड-१९ महामारी अझ पनि पूर्णरुपमा नियन्त्रणमा आइनसकेकाले जनस्वास्थ्यका मापदण्ड अपनाउन र खोप लगाउन सबैलाई आग्रह गरेको छ। शून्यमा झरेको कोरोना भाइरसको सङ्क्रमण अहिले बढिरहेको छ। चैत २० गते मात्रै ७६ जनामा नयाँ सङ्क्रमण र सक्रिय सङ्क्रमितको सङ्ख्या दुई सय २७ पुगेको छ। मन्त्रालयले कोरोना भाइरसबाट बच्नका लागि नाक, मुख, चिउँडो छोपिने गरी मास्क लगाउन, कोरोना भाइरसविरुद्धको खोप लगाउन, बेलाबेलामा साबुन पानी वा स्यानिटाइजरले हात धुन, खोक्दा वा हाच्छिउँ गर्दा रुमालले छोप्न र भौतिक दूरी दुई मिटर राख्न अनुरोध गरेको छ। —
नेपाली सेनाले विश्वमा मुलुकको प्रतिष्ठा बढाएको छ : प्रधानसेनापति मन्थली। प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाले विश्वमा देशको प्रतिष्ठा बढाउने काम गरेको बताएका छन्। श्री नं ९ बाहिनी अड्डाअन्तर्गत रामेछापको मन्थलीमा आज आयोजित भूतपूर्व सैनिक सम्मेलनको उद्घाटन गर्दै उनले भने, “देशको भौगोलिक अखण्डता, राष्ट्रिय एकता र जनताको रक्षा गर्नु हाम्रो प्रमुख संवैधानिक दायित्व हो।” यसका साथै सेनाले विकास निर्माण तथा पर्यावरण संरक्षणमा योगदान गर्दै आएको उनको भनाइ छ। नेपाली सेनाले सयुक्त राष्ट्रसंघअन्तर्गत विश्वशान्ति स्थापनामा समेत ठूलो योगदान गरी विश्वमा नेपालको प्रतिष्ठा बढाएको उनको भनाइ छ। प्रधानसेनापतिले लामो सैनिक जीवनमा प्राप्त ज्ञान र सीपलाई आफू बसोबास गरिरहेको स्थानमा प्रयोग गर्दै सदैव राष्ट्रको हित साथै नेपाली जनताको सेवामा आ–आफ्नो क्षेत्रबाट समर्पित रही आफूलाई सदैव एक अनुशासित सैनिक र सच्चा नेपाली नागरिकका रुपमा प्रस्तुत गर्न आग्रह गरे। सम्बोधनकै क्रममा उनले भूतपूर्व सैनिकको जीवनलाई थोरै भए पनि सरल, सहज र सुखी बनाउन नेपाली सेना प्रयत्नशील रहेको बताए। उनले सैनिक कल्याणकारी कोषको रकम पारदर्शीरुपमा सदुपयोग गर्दै सीमित स्रोतसाधनका बाबजुद शिक्षा, स्वास्थ्य, स्वरोजगार र सहुलियतमार्फत सम्पूर्ण हिताधिकारीलाई सुविधा उपलब्ध गराउँदै आइरहेको र थप सेवा विस्तारमा नेपाली सेना प्रयत्नशील रहेको बताए। कार्यक्रममा सेनाका बलाध्यक्ष रथी सीताराम खड्काले कल्याणकारी गतिविधिलाई सरल, सहज र बिस्तार गर्न निरन्तर प्रयास भइरहेको कुरा बताउँदै यस्ता सम्मेलनले भूपु सैनिकबीच आपसी भेटघाट र मिलनसमेत हुने धारणा व्यक्त गरे। कल्याणकारी बोर्डका प्रमुख कार्यकारी अधिकृत गौरव तन्डुलले सेनामा हिताधिकारीको आयआर्जनका नयाँ क्षेत्र पहिचान गर्दै लगानीमार्फत कल्याणकारी कार्यमा नयाँ सोचका साथ अघि बढ्ने बताए। सेनाको श्री नं ९ बाहिनी अड्डाअन्तर्गत रामेछापमा स्थायी बसोबास गर्ने भूतपूर्व सैनिकका लागि लक्षित गरी ‘भूतपूर्व सैनिक सम्मेलन, २०७९’ गरिएको हो। आजै सोही समयमा दोलखा र सिन्धुलीमा समेत उक्त जिल्लामा स्थायी बसोबास गर्ने भूतपूर्व सैनिकका लागिसमेत भूपु सैनिक सम्मेलन आयोजना गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। सम्मेलन जङ्गी अड्डाको व्यवस्थापन तथा नेपाली सेना कल्याणकारी बोर्डको संयोजकत्वमा भएको हो। भूपु सैनिकको कल्याणकारी कार्यलाई समन्वय गर्ने उद्देश्यले विसं २०७० असोज २१ गते नेपाली सैनिक कल्याणकारी बोर्डको स्थापना भएको हो। नेपाली सैनिक कल्याणकारी बोर्डको स्थापना भएसँगै नेपाली सेनाले मुलुकका विभिन्न क्षेत्रमा निरन्तररुपमा भूपु सैनिक सम्मेलन गर्दै आएको छ। हाल निवृत्तिभरणमा राजीनामा स्वीकृति भएका भूपु सैनिकको सङ्ख्या ८१ हजार छ सय ४३ रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। पारिवारिक निवृत्तिभरण उपभोग गर्नेको सङ्ख्या १५ हजार आठ सय ७२ समेत गरी कूल निवृत्तिभरण उपभोग गर्नेको सङ्ख्या ९७ हजार पाँच सय १५ जना रहेको सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए। सम्मेलनमा भूपु सैनिकका प्रतिनिधिद्वारा मार्च, झाँकी प्रदर्शन, राष्ट्रिय गीतमा सामूहिक नृत्य, पिटी र सैनिक ब्याण्ड प्रदर्शन, ज्येष्ठ सैनिक सम्मान, ‘ह्वील चियर’ तथा बैसाखी वितरण, चारभन्दा बढी सन्ततिलाई सेनामा प्रवेश गराउने आमा÷बाबुलाई सम्मान, शताब्दी पुरुष/महिला सम्मान र अन्तक्र्रिया तथा छलफलसमेत गरिएको थियो।
बसको ठक्करबाट साइकल यात्रीको मृत्यु चितवन। बसले साइकललाई ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा रत्ननगर नगरपालिका–१ का ७५ वर्षीय कुलप्रसाद पराजुली रहेका छन्। पूर्वी चितवनको बकुलर चोकमा भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको बा४ख ८९१६ नम्बरको बसले साइकल यात्रीलाई ठक्कर दिएको हो। ठक्करबाट घाइते पराजुलीको चितवन मेडिकल कलेजमा उपचारका क्रममा बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। दुर्घटना आज बिहान १० बजे भएको हो। ठक्कर दिने बस र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।
अरुण तेस्रो परियोजनाका लागि पुनः सर्भे गर्न माग भोजपुर। नौ सय मेगावाट क्षमताको निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाका प्रभावित जग्गाधनीले आफनो क्षेत्रमा पुन सर्भेको माग गरेका छन्। सङ्खुवासभाबाट भोजपुर हुँदै पुग्ने चार सय केभी प्रशारण लाइनका टावर निर्माणमा स्थानीयसँग समन्वय नै नगरी काम अगाडि बढाउन खोजिएको भन्दै भोजपुरको टेम्कैमैयुङ गाउँपालिकाका जग्गाधनीले पुन सर्भे गर्न माग गरेका हुन्। उनीहरु सङ्घर्ष समिति निर्माण गरी विरोत्र उत्रिएका छन्। बस्ती र खेतीयोग्य जमिन नछली सर्भे गर्दा आफूहरु विस्तापित हुने अवस्था आएकाले पुनः सर्भेको माग गरिएको सङ्घर्ष समितिका संयोजक पावीहाङ राईले बताए। आयोजना निर्माणका विषयमा देखिएका समस्या र चुनौतीका विषयमा छलफल गर्न जिल्ला प्रशासन कार्यालय भोजपुरले सोमबार आयोजना गरेको अन्तरक्रियामा राईले आयोजना मुलुकको हितमा भए पनि जबरजस्ती अघि बढाउन खोजिए आफूहरुलाई मान्य नहुने स्पष्ट पारे। कार्यक्रममा उनीहरुले बस्ती विस्तापित हुने गरी गरिएको सर्भे परिवर्तन नगरेसम्म टावर राख्न नपाइने अडान राखेका छन्। गाउँपालिका अध्यक्ष सरोज बस्नेतले आयोजना र सर्र्भेका विषयमा सम्बन्धित निकायले उचित समन्वय नगर्दा समस्या देखिएको बताए। उनले आयोजनाको आइपिओ निष्कासनको समयमा भोजपुरलाई पनि प्रभावित क्षेत्र मान्नुपर्ने माग रहेको बताए। कार्यक्रममा आयोजनाको निर्माण अवस्थाका बारेमा जानकारी दिइए अनुसार प्रशारण लाइनका लागि टेम्केमैयुङ गाउँपालिकामा १८ वटा टावर पोल निर्माण हुने छन्। सर्भे भए अनुसार टावर निर्माण हुन नहुने, मुआब्जा रकम बढाइनुपर्ने, तारमुनि पर्ने जग्गा र टावरको मुआब्जा एकै साथ वितरण हुनुपर्ने, प्रभावित क्षेत्र घोषणलगायतका सङ्घर्ष समितिको माग छ। अन्तरक्रियामा लगानी बोर्ड, विद्युत् प्राधिकरण, इञ्जिनियर, प्रभावित क्षेत्रका जनप्रतिनिधि, सम्बन्धित सरकारी कार्यालयका प्रमुख, जिल्ला समन्वय समिति, सुरक्षा निकाय, अरुण तेस्रो परियोजनासँग सम्बन्धित विज्ञ रहेका थिए। जिल्लाको षडानन्द नगरपालिका, भोजपुर नगपालिका र टेम्केमैयुङ गाउँपालिकामा आयोजान अन्तर्गत एक सय टावर निर्माण हुनेछन्। कार्यक्रममा सहभागी जनप्रतिनिधि तथा जग्गाधनीले भोजपुरमा अरुण तेस्रोले लापारवाहीपूर्वक काम गरिरहेको गुनासो गर्दै विगतमा गरिएका सम्झौता समेत आयोजनाले कार्यान्वयन नगरेको गुनासो राखेका थिए। षडानन्द नगरपालिकाका नगर प्रमुख सुरेन्द्रकुमार उदासले अरुण तेस्रो परियोजनाको प्रभावित क्षेत्र भोजपुर पनि भए पनि जल्लाका लागि कुनै पनि विषयमा सहयोग नगरेको बताए। “परियोजनाले चाहेमा प्रभावित क्षेत्रमा एक–एक वटा अस्पताल निर्माण गर्दा पनि हुन्छ, तर पनि उसले अहिलेसम्म जिल्लाका लागि कुनै पनि उपलब्धि मुलक काममा सहयोग गरेको छैन”, उनले भने। अरुण तेस्रो आयोजनाले षडानन्द नगरपालिकामा रु दुई करोड ६५ लाख ८३ हजार, भोजपुर नगरपालिकामा रु ६३ लाख ७३ हजार र टेम्केमैयुङ गाउँपालिकामा १४ लाख ४२ हजार गरी रु चार करोड २१ लाख तीन हजार मुआव्जा वितरण गरिसकेको जनाएको छ। – रासस
वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का पूर्व अध्यक्षसहित पाँचजना भ्रष्टाचारी ठहर धनुषा। वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का पूर्वअध्यक्ष, कार्यकारी निर्देशकसहित पाँच जनालाई विशेष अदालतले भ्रष्टाचारी ठहर गरेको छ। विशेष अदालतले परिषद्का पूर्वअध्यक्ष दीगम्बर राय, कार्यकारी निर्देशक सूर्यदेव साह र राजेशकुमार साह, नायब सुब्बा उषा मिश्रा तथा लेखापाल उत्तमराज शर्मा ढकाललाई भ्रष्टाचारी ठहर गरेको हो। विशेष अदालतका न्यायाधीशद्वय शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाको इजलासले पाँच जनालाई भारत सरकारको सहयोगमा आठवटा परियोजना ठेक्का लागेकोमा पाँचवटा परियोजनामा अनियमितता भएको भन्दै भ्रष्टाचारी ठहर गर्ने फैसला गरेको हो। विभिन्न परियोजनाको ठेक्का लगाउने क्रममा अनियमितता भएको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० जनालाई विपक्षी बनाएर २०७५ कात्तिक १५ गते मुद्दा दायर गरेको थियो। दश जनामध्ये पाँच जनालाई विशेष अदालतले सफाइ दिएको छ भने पाँचलाई दोषी ठहर गरेको छ। परिषद्बाट गठित बोलपत्र मूल्याङ्कन समितिले विभिन्न मितिमा मूल्याङ्कन गर्दा लागत अनुमान अङ्कमा बदनियतपूर्वक विभिन्न परियोजनामा मूल्याङ्कन सिफारिस गरेको विशेष अदालतको ठहर छ। अनुमान अङ्कभन्दा ३० प्रतिशतभन्दा धेरै घटेको भन्दै बोलपत्र अमान्य भएको देखाउँदै केही बोलपत्रलाई मूल्याङ्कन प्रक्रियामा समावेश नै नगराइएको भेटिएको छ। यसरी लापरबाहीपूर्वक मूल्याङ्कन र बोलपत्र स्वीकृत गर्दा परिषद्लाई रु ६२ लाख ८८ हजारभन्दा बढीको घाटा भएको भन्दै अख्तियारले मुद्दा दर्ता गरेको थियो। साथै, निर्माण कार्यका विभिन्न वस्तुमा ठेक्का सम्झौता भएकोमा इकाइ दरमा घटबढ हुने गरी भिन्न स्वीकृत गरेको भेटिएको थियो। यसले परिषद्लाई थप नौ लाख ८५ हजार र अर्को ठेक्कामा तीन लाख ५४ हजारको अनियमितता भएको दाबी अख्तियारले गरेको थियो। अख्तियारले कूल रु ७६ लाख २८ हजारभन्दा बढी रकम बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको थियो। दोषी ठहर भएका पाँचैजनाको चैत २८ गते सजाय निर्धारण हुने बताइएको छ।
कपिलवस्तुका न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावललाई पक्राउ पुर्जी जारी काठमाडौं । घरायशी विवादमा आएकी कपिलवस्तुका न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावललाई प्रहरीले पक्राउ पूर्जी जारी गरेको छ । सरकारी कागाजात किर्ते गरेको अरोपमा उनलाई बाँके जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरिएको हो । शैक्षिक प्रमाणपत्र लगायतका सरकारी कागजात किर्ते गरेको अभियोगमा न्यायाधीशपत्नी रावललाई पक्राउ गर्न बाँके जिल्ला अदालतले अनुमति दिएको बाँके प्रहरीका डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए। उनका अनुसार एसएलसीको प्रमाणपत्र, मार्कसिट, क्यारेक्टर सर्टिफिकेट लगायतका कागजात किर्ते गरेको र आफूले प्राप्त नगरेको शिक्षा प्राप्त गरेको भनी लाभ लिएको उजुरीका आधारमा प्रहरीले पक्राउ गर्न अदालतबाट आदेश लिएको हो । श्रीमती रावलले आफू श्रीमान गिरीबाट पीडित भएको बताउदै आएकी थिइन ।
नेपालमा ओमिक्रोनको नयाँ भेरियन्ट संक्रमणकाे पुष्टि काठमाडौं। नेपालमा काेराेनाभाइरसकाे ओमिक्रोनको नयाँ भेरियन्ट ‘एक्सबीबी १.१६’ पुष्टि भएको छ। छिमेकी देश भारतमा फैलिएको नयाँ भेरियन्ट नेपालमा पनि पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो। यही चैत महिनामा संकलन गरिएका २४ वटा नमुनाको निजी सिक्वेन्सिङ गरिएको थियो, जसमा २४ वटैमा ओमिक्रोन भेरियन्ट भेटिएको छ। कोरोना पुष्टि भएकामध्ये २४ जनामा गरिएको परीक्षणमा ९ जनामा नयाँ भेरियन्ट देखापरेको छ। नेपालमा अहिले ओमिक्रोनका ९ वटा सबभेरियन्ट सक्रिय रहेको पाइएको छ। यसमा पछिल्लो पटक भेटिएको एक्सबीबी.१.१६ सबभन्दा धेरै छ। भारतमा पनि नयाँ भेरियन्ट फैलिरहेको हुँदा सीमा क्षेत्रमा कोरोना परीक्षण, मास्क अनिवार्य जस्ता व्यवस्था गरेको मन्त्रालयले जनाएको । साथै मन्त्रालयले नेपालमा मौसमी रुघाखोकीका साथै कोभिड–१९ को संक्रमण पनि बढ्दै गएकोले रोकथाम एवं नियन्त्रणका लागि सबै तहबाट प्रभावकारी भूमिका बढाउन संवेदनशील हुन आग्रह गरेको छ।
तारकेश्वरबाट जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ काठमाडौँ। तारकेश्वर नगरपालिका-१० बाट लोकतान्त्रिक चोकबाट जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई पक्राउ गरेको छ। लोकतान्त्रिक चोकस्थित  राम कुमार लुङ्गेलीको मासु पसलमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका मनमैजु बस्ने २७ वर्षीय लोकेश विक समेत ९ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो। विशेष सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८३ हजार ५ सय २५ रुपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
जैविक विविधता अध्ययन केन्द्र बन्दै कावासोतीको जटायु रेष्टुरेन्ट कावासोती । लोपोन्मुख गिद्ध संरक्षण गर्न १७ वर्ष अगाडि पूर्वी नवलपरासीको कावासोती–१३ मा स्थापना गरिएको जटायु रेष्टुरेन्ट पर्यापर्यटनको गन्तव्य र जैविक विविधता अध्ययन गर्नेहरूको केन्द्रका रूपमा विकास हुँदै गएको छ । यस ठाउँमा जैविक विविधता, पर्यापर्यटन एवं वन तथा वातावरण अध्ययन गर्ने विद्यार्थी तथा सोधकर्ताहरू गिद्ध, तिनका प्रजाति, जीवनशैली तथा गिद्धको बासस्थानका विषयमा अध्ययन गर्न आउने गरेका जटायु रेष्टुरेन्ट व्यवस्थापन समितिका अध्यक्ष एवं चराविज्ञ डिबी चौधरीले बताए। उनले रेष्टुरेन्टमा राखिएका गिद्धहरूलाई खाना दिइने गरेको हप्ताको दुई दिनमध्ये एक दिन अध्ययन–अवलोकन गर्न आउनेहरूका लागि खुला गरिने गरिएको जानकारी दिए। उनका अनुसार एकपटकको अवलोकनमा १५ देखि ३० जनासम्म आउने गरेका छन् । “औसतमा भन्दा १५ देखि २० जनाको हाराहारीमा पर्यटक तथा अध्ययनकर्ता आउनुहुन्छ, त्यसबाहेक कहिलेकाहीँ अलि धेरैको समूहमा समेत आउने गर्नुभएको छ”, उनले भने। खाना दिने दिन धेरैको सङ्ख्यामा गिद्ध देखिने हुँदा गिद्ध अवलोकन र अध्ययनका लागि समेत सहज हुने भएकाले हप्ताको दुई दिन अवलोकनका लागि खुला गर्ने तयारी गरिएको व्यवस्थापक चौधरीले जानकारी दिए। यहाँका गिद्धलाई हप्ताको दुई दिन खाना दिने गरिएको छ घने अन्य दिन उनीहरूले वातावरणमा घुमफिर गर्दा बाहिरको खाना खाने गर्दछन् । विषादीयुक्त आहारा र बासस्थानमा आएको ह्रासका कारण गिद्ध मासिँदै गएपछि नेपालमा पहिलोपटक समुदायस्तरबाट जटायु रेष्टुरेन्टको स्थापना गरिएको व्यवस्थापक चौधरीको भनाइ छ । उनका अनुसार लोपोन्मुख गिद्धलाई विषादीरहित आहारा उपलब्ध गराएर संरक्षण गर्ने उद्देश्यले समुदायस्तरबाट रेष्टुरेन्टको सञ्चालन र व्यवस्थापन गरिएको हो । कावासोती–१३ मा रहेको नमूना सामुदायिक मध्यवर्ती वनको करिब ५० हेक्टर क्षेत्रफलमा फैलिएको जटायु रेष्टुरेन्टमा नेपालमा पाइने नौ प्रजातिका गिद्धमध्ये आठ प्रजातिका गिद्ध पाइने अध्यक्ष चौधरीले बताए। उनका अनुसार यहाँ रैथाने प्रजातिका डङ्गर, सेतो, सुन र सानो खैरो गिद्ध तथा आगन्तुक प्रजातिका राजगिद्ध, हिमाली गिद्ध, खैरो गिद्ध र लामो ठोडेगिद्ध रहेका छन् । आगन्तुक प्रजातिका गिद्ध भने हिउँदको समयमा आउने गरेक व्यवस्थापक चौधरीले जानकारी दिए। प्रकृतिको कुचीकारका रूपमा रहेका गिद्ध गाईवस्तुलाई प्रयोग गरिने डाइक्लोफेनेकजस्ता औषधिको प्रयोगसँगसँगै बासस्थानमा आएका ह्रासका कारण गिद्ध लोपोन्मुख अवस्थामा पुगेका उनी बताउँछन् । “डाइक्लोफेनेककोे प्रयोग गरी उपचार गराइएका पशुको मृत्युपछि सिनो गिद्धले खाएमा मिर्गौलामा असर भई केही दिनमा नैै गिद्ध मर्ने गरेका तथा बासस्थान आएका ह्रास कारणले गिद्ध लोपोन्मुख अवस्थामा पुगेका हुन्”, उनले भने । पछिल्लो समय गिद्ध बस्ने तथा गुँड लगाउने सिमलका रुख मासिँदै गएपछि गिद्धको बासस्थानमा ह्रास आएको चौधरी बताउँछन्। रेष्टुरेन्टले गिद्धको आहाराका लागि गाउँघरबाट बूढाखाडा भएका गाईभैँसी ल्याएर पाल्ने गरेको छ । रेष्टुरेन्टको गौशालामा पालिएका गाईवस्तु मरेपछि गिद्धका आहाराका लागि प्रयोग गरिने चौधरीले बताए। यसबाहेक जिल्लाभित्र विभिन्न कृषि फार्ममा मरेका गाईभैँँसी ल्याएर परीक्षणपश्चात आहाराका रूपमा प्रयोग गरिने चौधरीले बताए । रेष्टुरेन्टले आहारा व्वस्थापनका लागि व्यवस्थित गौशाला निर्माणको योजना अगाडि बढाएको र यसका लागि पक्षी संरक्षण सङ्घ, चितवन राष्ट्रिय निकुञ्ज, कावासोती नगरपालिका, डिभिजन वनलगायतका सङ्घसंस्थाले आर्थिक सहयोग गरेको चौधरीले जानकारी दिए। पर्यापर्यटन र जैविक विविधता अध्ययन गर्ने तथा गिद्ध अवलोकनका लागि पछिल्लो समय विदेशी तथा स्वदेशी पर्यटक पछिल्लो समय बाक्लोरूपमा आउने गरेका व्यवस्थापक चौधरीले बताए। रेष्टुरेन्टले गिद्ध अवलोकन गर्न आउने विदेशी पर्यटकसँग रु एक हजार र नेपाली पर्यटकसँग रु तीन सय लिने गरेको छ । विभिन्न सङ्घसंस्थाको सहयोग, आगन्तुकलाई बिक्री गरिएको टिकट र आहराको रूपमा प्रयोग भएपछि रहेको गाईवस्तुको छाला र र हड्डी र मलको बिक्रीबाट रेष्टुरेन्ट सञ्चालन गर्ने गरिएको उनले जानकारी दिए । गिद्ध संरक्षणका लागि समुदायस्तरमा नेपालमा पहिलोपटक सन् २००६ मा गिद्ध अर्थात् जटायु रेष्टुरेन्टको स्थापना गरिएको थियो ।
वृद्ध हत्याकाे आरोपमा रामेछापमा ४ जना पक्राउ रामेछाप।  एक वृद्धको हत्या गरेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय, रामेछापका अनुसार गोकुलगंगा गाउँपालिका–४ बेतालीका ८४ वर्षीय सम्शेरबहादुर थापामगरको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा ४ जनलाई पक्राउ गरिएको हो। थापामगरको हत्या गरेको आरोपमा प्रहरीले ६२ वर्षीय मानबहादुर मगर, ५२ वर्षीय नेत्रबहादुर थापामगर, ४५ वर्षीया रामपियारी खड्का र ४५ वर्षीया अनिता भनिने मनोमाया थापामगरलाई पक्राउ गरेको हो। गत १३ चैतमा खुकुरी प्रहारबाट टाउकोमा गहिरो चोट लागेको थापामगरलाई उपचारका लागि मन्थली ल्याउँदै गर्दा अत्याधिक रक्तस्रावका कारण बाटोमै मृत्यु भएको थियो। पक्राउ परेकालाई चारैजनलाई हिरासतमा राखी थप अनुसन्धान पक्रिया अघि बढाईएको प्रहरीले जनाएको छ।
काभ्रे डाँडापारि : सुत्केरी हुन हेलिकोप्टरकै भर काभ्रेपलाञ्चोक। महाभारत पर्वत शृङ्खला (डाँडापारि) पारि अवस्थित महाभारत गाउँपालिका–७ बनखुको २१ वर्षीया गर्भवती कविता मोक्तानलाई सोमबार हेलिकोप्टरबाट काठमाडाैं लगियो। ‘सुत्केरी ब्यथा’ लागेपछि शनिबार स्थानीय ‘बर्थिङ सेन्टर’मा भर्ना भएकी उनलाई उच्च रक्तचापका कारण त्यहाँ सुत्केरी गराउन समस्या भएपछि काठमाडौँ लगिएको हो। मोक्तानलाई राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत निःशुल्क हेलिकप्टरबाट काठमाडौँ थापाथलीस्थित प्रसूतिगृहमा लगिएको हो। जिल्लाको डाँडापारिस्थित महाभारत र खानीखोला गाउँपालिकामा स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि विशेषगरी सुत्केरी ब्यथा लागेकाको स्वास्थ्य जोखिममा हेलिकोप्टरको ब्यवस्थापन गरी सदरमुकाम तथा काठमाडौँका अस्पताल लैजाने गर्दै आइएको छ। सदरमुकामबाट टाढा अवस्थित तथा कच्ची सडकका कारण तत्कालै उपचार गर्नुपर्ने स्वास्थ्य समस्यामा हेलिकोप्टरकै साहारा लिनुपर्ने बाध्यता रहँदै आएको छ। कार्यक्रम लागू भएपछि हालसम्म महाभारतको मात्रै आठ सुत्केरी ब्यथा लागेकाको हेलिकोप्टरबाट उद्धार गरिएको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बताए। “लामो कच्ची सडकमा सुत्केरी ब्यथा लागेका महिलाको स्वास्थ्य जोखिममा पर्ने भएकाले डाँडापारिका नागरिकले हेलिकोप्टरकै भर पर्नुपर्ने हुन्छ, यहाँका सडक स्तरोन्नति गर्दैछौँ अब अन्य बिरामीलाई पनि केही सहज होला कि!”, उनले भने। अध्यक्ष जिम्बाले निःशुल्क हवाई उद्धार निर्देशिका–२०७७ अनुसार सुत्केरी ब्यथा लागेकाको लागि सेवा प्रदान गर्दै आएको बताए। महाभारतका नागरिकलाई उपचार गर्न सदरमुकामका अस्पताल आउनुपर्दा वर्षायाममा झन् कठिन हुने गरेको बताइन्छ। यसअघि गत साउन अन्तिम हप्ता डाँडापारिस्थित खानीखोला गाउँपालिका–४ डाँडागाउँका ७० वर्षीया सुन्तामाया जिम्बालाई उपचारका लागि हेलिकोप्टरमार्फत धुलिखेल अस्पताल ल्याइएको थियो। टाउको दुख्ने र हात झम्झमाउने रोगबाट पीडित उहाँलाई पनि गाउँको कच्ची सडकबाट एम्बुलेन्समा ल्याउन सम्भव नहुँदा हेलिकोप्टर ‘चार्टडर्’ गर्नुपर्ने बाध्यता बनेको थियो। त्यतिबेला उनका आफन्तले रु ७० हजार भाडा तिरेर धुलिखेल ल्याउनुपरेको थियो। “गम्भीर प्रकृतिको बिरामी पर्दा वर्षायाममा हेलिकोप्टरको विकल्प छैन”, गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले भने। गत साल नै तीन दिनदेखि झाडापखालाले ग्रस्त खानीखोला गाउँपालिका–६ की १७ वर्षीया रञ्जिता थोकरलाई उपचारार्थ अस्पताल लैजान हेलिकोप्टर गाउँ पुर्‍याइयो। तर हेलिकोप्टर रित्तै फर्कनुपर्‍यो। विडम्बना हेलिकोप्टर गाउँ पुग्दै गर्दा उनको स्थानीय स्वास्थ्य संस्थामा उपचारका क्रममै मृत्यु भइसकेको थियो । उनको थप उपचारका लागि काठमाडाैं लैजान परिवार र जनप्रतिनिधिले निर्णय गरे तर, उनको निधन भइसकेको थियो। डाँडापारिस्थित टाढाको विकट क्षेत्रमा महँगो भए पनि सडक अवरुद्ध हुँदा हेलिकोप्टर निकै सजिलो साधन मानिन्छ। वर्षायाममा ग्रामीण भेगमा भएका सडक भत्किने र पहिराले अबरुद्ध हुँदा जिल्लाको दक्षिणी क्षेत्र महाभारत डाँडापारिका दुई गाउँपालिकाका नागरिकले बिरामी पर्दा हेलिकोप्टरको भर पर्नुपर्ने हुन्छ। गर्भवतीबाहेक अन्य बिरामीले हेलिकोप्टरको भाडा तिर्न नसक्ने भएकाले उपचारबाट बञ्चित हुनुपर्ने बाध्यता पनि देखिएको छ। राष्ट्रपति महिला उत्थान कार्यक्रम सुत्केरीको ब्यथाले स्वास्थ्य जोखिममा पर्ने महिलाका लागि वरदान सावित भएको छ। तर भौगोलिक विकटता तथा वर्षा मौसममा कच्ची सडक अबरुद्ध हुँदा काभ्रेपलाञ्चोकको डाँडापारि क्षेत्रका दुई गाउँपालिका खानीखोला र महाभारतमा बिरामीको उद्धारमा निकै कठिनाइ हुने गरेको स्थानीय बताउँछन्। हेलिकोप्टरबाट बिरामी/गर्भवतीको उपचाररार्थ उद्धार गरिए पनि जिल्ला सदरमुकामका अस्पताल लैजान हेलिकोप्टर अवतरण गर्न अर्को व्यवस्थापन गर्नुपर्ने हुँदा काठमाडाैंका अस्पतालनै लैजानुपर्ने बाध्यता पनि छ। रासस
आजको मौसमः सुदुरपश्चिम प्रदेशलगायत पहाडी भू-भागमा पानी पर्ने संभावना काठमाडौं। हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ। राती भने देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू-भागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन र चट्याङबाट हुन सक्ने क्षति बाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
चौबिस वटै नमूनामा ओमिक्रोन भेरियन्ट काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा मौसमी रुघाखोकीका कारणले कोरोना भाइरस सङ्क्रमण बढिरहेको जनाएको छ। मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले विज्ञप्ति जारी गर्दै छिमेकी मुलुकमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि १.१६ देखिएकोले नेपालमा सङ्क्रमण बढिरहेको जनाएका हुन्। उनले सङ्क्रमण बढिरहेकाले रोकथाम र नियन्त्रणका लागि सबै तह र तप्काबाट प्रभावकारी भूमिका निभाउन आग्रह गरेका छन्। उनले रोकथाम र नियन्त्रणका लागि जनस्वास्थ्यका मापदण्डको पालना गर्न र गराउन सबै सरोकारवाला निकायलाई आग्रह गरेका छन्। उनका अनुसार यही चैत महिनामा २४ वटा नमूना परीक्षण गरिएकोमा २४ वटैमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ। मन्त्रालयका अनुसार कोभिड–१९ मा हुने अणुवांशिक परिवर्तनको पहिचान राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको हो। सोअनुसार ओमिक्रोन विए १.१ दुई वटा, ओमिक्रोन विए दुई, ओमिक्रोन विए २.७६ एउटा, ओमिक्रोन विए ५ दुई वटा भेरियन्ट फेला परेका छन्। ओमिक्रोन विए ५.२ दुई, ओमिक्रोन एक्सविवि १.१६ दश वटा, ओमिक्रोन एक्सविवि १.५ तीन वटा, ओमिक्रोन एक्सविवि २.६ एउटा र ओमिक्रोन एक्सविएफ एउटा फेला परेका छन्। “कोभिड–१९ महामारी अझ पनि पूर्णरूपमा नियन्त्रणमा आइसकेको छैन। खोप, जनस्वास्थ्यका मापदण्डलगायत बहुक्षेत्रीय संयन्त्रको संयुक्त सहकार्यबाट यसको रोकथाम, नियन्त्रण तथा उपचारले जटिलता हुनबाट जोगाउने अवस्था रहेको छ”, मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ। सोमबार कोरोना भाइरसको सङ्क्रमण ७६ जनामा देखिएको छ।
कोटेश्वर, बल्खु र बसुन्धरामा सवारी दुर्घटना हुँदा तीनको मृत्यु काठमाडौं। काठमाडौंको कोटेश्वर, बल्खु र बसुन्धरामा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। काठमाडौँ महानगरपालिका–३२ कोटेश्वरस्थित सडकमा बागमती प्रदेश ०२–००२२ प २६८४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा सिन्धुपाल्चोकका ३५ वर्षीय हरिशरण अधिकारीको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका अधिकारीको उपचारका क्रममा आज बिहान काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। यस्तै, काठमाडौँ महानगरपालिका–१४ बल्खुस्थित सडकमा बागमती प्रदेश ०३–००१ ख १७१५ नम्बरको ट्रक र बीए एए ९८३५ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई आइतबार दिउँसो दुर्घटना हुँदा स्कुटर चालक अर्घाखाँचीका ३४ वर्षीय भुपती पाण्डेको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका पाण्डेको उपचारका क्रममा बयोधा अस्पताल बल्खुमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा सङ्लग्न ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैगरी, काठमाडौँ महानगरपालिका–३ बसुन्धारास्थित सडकमा बा १९ च ३३०८ नम्बरको हात्ती गाडीले बागमती प्रदेश ०२– ०४० प २१०८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सुर्खेतका २७ वर्षीय उपेन्द्र बुढाको मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका बुढाको उपचारका क्रममा ग्रिनसिटी अस्पताल बसुन्धारामा गए राति मृत्यु भएको हो। गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
अनलाइन ठगी कारोबारमा संलग्न २३ पक्राउ धनुषा । अनलाइन ठगी कारोबारमा सङ्लग्न रहेको आरोपमा धनुषा प्रहरीले २३ जनालाई पक्राउ गरेको छ । आज साँझ जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले उनीहरूलाई जनकपुरधामको पिडारी चोकस्थित बर्गर हाउस नजिकैबाट पक्राउ गरेको हो । पिडारी चोकमै एउटा फ्ल्याट भाडामा लिएर अनलाइन ठगीको कारोबार गर्दै आइरहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले बताउनुभयो । गौतमका अनुसार उनीहरूले विभिन्न एपमार्फत हनिट्र्याप जस्तो धन्दा गर्दै आएका थिए । पक्राउ पर्नेमा १४ पुरुष र नौ महिला रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको गौतमले बताए । पर्सा पकहा मोहनपुर–५ का सत्यानन्द रामले यो गिरोहको नेतृत्व गर्दै आइरहेका थिए । धनुषाको सबैला घर भई जनकपुरमै रहँदै आएकी सञ्जु साहले अनलाइन ठगीको कारोबार सम्हाल्दै आएको प्रहरीले बताएको छ । यो गिरोहमा २० देखि ३० वर्ष उमेर समूहका युवायुवती रहेका छन् । आधाभन्दा बढी युवतीले सेवाग्राही खोज्ने र आफ्नो जालमा पार्नका लागि विभिन्न प्रलोभन दिने र पछि तस्बिर आदानप्रदानमार्फत नग्न फोटो भिडियो बनाएर ब्ल्याकमेल गर्दै रकम उठाउँदै आएको धनुषा प्रहरीले जानकारी दिएको छ ।
खुम्बुमा अस्ट्रेलियाली नागरिकको मृत्यु सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु क्षेत्रमा एक अस्ट्रेलियाली नागरिकको ज्यान गएको छ । जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–२ रात्माटेमा ६३ वर्षीय अस्ट्रेलियाली नागरिक भ्यालेन्स फिलिप्स थोमसको आज निधन भएको पर्यटक प्रहरी कार्यालय लुक्लाले जनाएको छ । कार्यालयका इन्चार्ज प्रहरी नायब निरीक्षक पूर्ण दाहालका अनुसार आइतबार नै रामेछापको मन्थलीबाट लुक्ला विमानस्थल ओर्लिएका थोमस त्यहाँबाट सङ्खुवासभा जाने कार्यतालिका थियो । हिँड्दै गर्दा एक्कासि उकालो बाटोमा ढलेका उनको उपचारको क्रममा निधन भएको दाहालले बताए । थोमससहित तीन अस्ट्रेलियाली नागरिक नेपाली पथप्रदर्शक योग्यबहादुुर कार्कीको नेतृत्वमा लुक्लाबाट मेरा पिक हुँदै सङ्खुवासभाको तुम्लिङटारतर्फ अघि बढेका थिए । शवको कानूनी प्रक्रिया पूरा गरिएको छ । उनको शव भोलि मङ्गलबार हेलिकप्टरमार्फत पोष्टमार्टमका लागि काठमाडौँ लैजाने तयारी रहेको प्रहरीले जनाएको छ ।
बैतडीमा जिप दुर्घटना हुँदा एकको मृत्यु, १४ घाइते बैतडी। जिल्लाको पञ्चेश्वर गाउँपालिकामा जिप दुर्घटनामा हुँदा एकको मृत्यु भएको छ भने १४ घाइते भएका छन्। गणमेश्वरबाट देहीमाडौँतर्फ आउँदै गरेको से १ ज २९५ नम्बरको जिप पञ्चेश्वर–५ तिलकपुर भिटा भन्ने स्थानमा जिप दुर्घटनामा परेको हो। दुर्घटनामा परी पञ्चेश्वर–५ का ५५ वर्षीय महादेव भट्टको मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए। घाइते हुनेमा पञ्चेश्वर–६ रोडीका ६९ वर्षीय नरेन्द्रसिंह भण्डारी, पञ्चेश्वर–५ मस्नेटाका ३३ वर्षीया निर्मला पन्त, सोही ठाउँका ८९ वर्षीय गोकुलदत्त भट्ट, ३३ वर्षीय रामप्रसाद भट्ट, ६२ वर्षीया जसुदेवी भट्ट, चार वर्षीय मोहित भट्ट, ३५ वर्षीया मीना भट्ट, ३३ वर्षीय राजेन्द्र भट्ट, २८ वर्षीया तुलसी भट्ट, २३ वर्षीया कुन्ती भट्ट, ३४ वर्षीय केशव भट्ट, ५५ वर्षीया ललिता भट्ट र तीन वर्षीय रोशन भट्ट रहेका छन्। पञ्चेश्वर–६ सेलीका २२ वर्षीय चालक राकेश कोली पनि घाइते भएका छन्। घाइतेमध्ये कुन्तीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइते सबैको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ। ब्रेक फेल भएर दुर्घटनामा परेको जिप सडकबाट झण्डै ७० मिटर तल खसेको बताइएको छ। जिप दुर्घटनापछि प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी, प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीलगायत सुरक्षा निकायको टोली घटनास्थल पुगेको थियो।
मोटरसाइकल दुर्घटनामा बालकको मृत्यु, दुई घाइते महेन्द्रनगर । कञ्चनपुरको दैजी–बेल्डाडी सडक खण्डमा सोमबार मोटरसाइकल दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ । बेल्डाडीबाट महेन्द्रनगरतर्फ आइरहेको सुपप्र ०२–००३ प ४६७१ नम्बरको मोटरसाइकल बेदकोट १० मा नालामा खस्दा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले दुर्घटनामा परी बेल्डाडी गाउँपालिका–४ का अमरबहादुर ठकुरीका अन्दाजी आठ÷नौ वर्षीय छोरा इस्बन्धन ठकुरीको मृत्यु भएको बताए । दुर्घटनामा परी मोटरसाइकल चालक टेकेन्द्रप्रसाद भट्ट र बाह्र वर्षीय अर्चना जोशी घाइते भएका छन् । घाइतेमध्ये गम्भीर अवस्थामा रहेकी बालिकालाई थप उपचारका लागि महाकाली प्रादेशिक अस्पतालले धनगढी रिफर गरेको प्रहरीले जनाएको छ । “घटनाको विस्तृतमा अनुसन्धान हुँदैछ ।” प्रवक्ता डाँगीले भने, “अर्धचेत अवस्थामा रहेका घाइते मोटरसाइकल चालकको महाकाली अस्पतालमै उपचार हुँदैछ ।” प्रहरीका अनुसार मृतक बालकको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ ।
सेना राष्ट्रिय सुरक्षाको आधारशीला: प्रधानसेनापति शर्मा बर्दिवास। प्रधान सेनापति प्रभुराम शर्माले सुसङ्गठित सेना नै राष्ट्रिय सुरक्षाको आधारशीला भएको बताएका छन्। महोत्तरीको बर्दिवासस्थित मध्यपूर्वी पृतना हेडक्वाटर्रमा भूतपूर्व सैनिक सम्मेलनको आज उद्घाटन गर्दै उनले सेना बलियो भएमा मुलुकको राष्ट्रिय सुरक्षा र हितको संरक्षण हुने बताए। प्रधान सेनापति शर्माले नेपालको स्वतन्त्रता, सार्वभौम सत्ता र राष्ट्रिय एकताको रक्षा गर्नु नेपाली सेनाको प्रमुख जिम्मेवारी रहेको उल्लेख गरे। विकास निर्माण र पर्यावरण संरक्षण गर्नुसमेत सेनाको दायित्व भएको उनको भनाइ थियो। प्रधान सेनापति शर्माले भने, “हामी कमजोर हुनु भनेको राष्ट्रिय सुरक्षा र हितलाई खलल पुर्‍याउने तत्व सलबलाउनु हो। तसर्थ, नेपाली सेना यस विषयमा सदैव सजग र सतर्क रहिआएको छ।” समयानुकूल आफूलाई तयार गरेर मुलुकको आवश्यकता अनुसार परिचालित हुन हरहमेसा सेना तत्पर रहेको उनको भनाइ थियो। “समपर्ण भाव, चेन अफ कमाण्ड तथा एकता नै सेनाको शक्ति हो”, यी कुरालाई सधँै सबैले स्मरण गरेर अघि बढ्नुपर्ने प्रधान सेनापति शर्माले उल्लेख गरे। सैनिक कल्याणकारी बोर्डका प्रमुख कार्यकारी अधिकृत गौरव तण्डुलले अवकाश प्राप्त सैनिक एवं पारिवारिक निवृत्तिभरणमा रहेका व्यक्तिप्रति लक्षित सम्मेलनले विभिन्न दर्जा, युनिट र स्थानमा तैनाथ रही योगदान पुर्‍याएका पूर्वसैनिकको पुनर्मिलनको ठूलो अवसर प्रदान गरेको बताए। नेपाली सेनाको व्यवस्थापन तथा सैनिक कल्याणकारी बोर्डको संयोजकत्वमा भूतपूर्व सैनिकका लागि लक्षित गरी आयोजना गरिएको ‘भूतपूर्व सैनिक सम्मेलन, २०७९’ मा महोत्तरी, धनुषा, सर्लाही, सिरहा, बारा, पर्सा, रौतहट र सप्तरीमा स्थायी बसोबास गर्ने करिब दुई हजार भूपू सैनिकको सहभागिता रहेको सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए। हाल निवृत्तिभरणमा राजीनामा स्वीकृत भएका भूपू सैनिकको सङ्ख्या ८१ हजार छ सय ४३ रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। पारिवारिक निवृत्तिभरण उपभोग गर्नेको सङ्ख्या १५ हजार आठ सय ७२ समेत गरी कूल निवृत्तिभरण उपभोग गर्नेको सङ्ख्या ९७ हजार पाँच सय १५ जना रहेको छ। सम्मेलनमा भूपू सैनिकका प्रतिनिधिद्वारा मार्च, झाँकी प्रदर्शन, राष्ट्रिय गीतमा सामूहिक नृत्य, पिटी र सैनिक ब्याण्ड प्रदर्शन, ज्येष्ठ सैनिक सम्मान, ‘ह्वील चियर’ तथा बैसाखी वितरण, चारभन्दा बढी सन्ततिलाई सेनामा प्रवेश गराउने आमाबाबुलाई सम्मान, शताब्दी पुरुष/महिला सम्मान र अन्तक्र्रिया आयोजना गरिएको थियो। सम्मेलनबाट सैनिक नेतृत्वले विभिन्न स्थानमा पुगेर पूर्वसैनिक एवं तिनका परिवारसँग अन्तक्र्रिया गर्ने हुँदा सेनाले आफ्ना हिताधिकारीको कल्याणका लागि गरिरहेका प्रयासको मूल्याङ्कन तथा भावी योजना तर्जुमा गर्न महत्वपूर्ण सुझाव प्राप्त हुने नेपाली सेनाले जनाएको छ।
नेपालमै पहिलो पटक अनलाइन गाडी रेन्टको सुविधा प्रदान गर्दै सजिलो रेन्टल काठमाडौँ। सजिलो रेन्टलले नेपालमै पहिलो पटक अनलाइन गाडी रेन्टको सुविधा प्रदान गर्दै आएको छ। ‘सजिलो रेन्टल’ मोबाइल एप वा वेबसाइटमार्फत ग्राहकहरुले आफूलाई आवश्यक परेको समयमा गाडी भाडामा लिन र सवारी धनीहरुले सजिलै गाडी भाडामा दिन सक्छन्। सन् २०२१ को जनवरी महिनामा लन्च भएको सजिलो रेन्टल एपले गाडी आवश्यक भएका ग्राहकहरुलाई सफा, स्वच्छ र आरामदायी कार, जीप, हायस, कोस्टर तथा पर्यटकीय बसहरु सजिलो गरी उपलब्ध गराउँदै आएको छ। परिवार तथा इष्टमित्रसँग कतै घुम्न जानु पर्यो भने गाडी रिजर्भका लागि दुविधामा परी अल्लमल्ल हुन्छन्, मानिसहरुले भोग्ने यस्तै समस्या समाधानका लागि सजिलो रेन्टलको विकास गरेको कम्पनीका संस्थापक दामोदर फुयाँल (प्रज्वल) ले बताए। सजिलो रेन्टलले नेपालमा बस्ने मानिसहरुलाई मात्रै नभई विदेशबाट नेपाल फर्किने तयारी गरिरहेकाहरुलाई पनि सेवा दिन्छ । कम्पनीले नेपालका सातै प्रदेशका प्रमुख सहरहरु पोखरा, चितवन, बुटवल, धनगडी, नेपालगन्ज, इटहरी, बिर्तामोड र काठमाडौँमा सेवा प्रदान गर्दै आइरहेको छ। यात्राको क्रममा हुने जोखिम न्युनिकरणका लागि ग्राहकले रिजर्भ गर्ने गाडीमा अनुभवी ड्राइभर उपलब्ध गराइने कम्पनीले जनाएको छ। ग्राहकले न्युनतम चार घन्टादेखि १ महिना वा त्योभन्दा बढी समयका लागि आवश्यक परेको कार, स्कर्पियो, हायस वा बस भाडामा लिन सक्छन्। सजिलो रेन्टलमार्फत सवारीधनीले सहज र सरल ढङ्गबाट आफ्नो आम्दानी बढाउन सक्छन्। सेजिलो रेन्टलका ग्राहकहरुले परम्परागत शैलीमा गाडी मिलाइदिने ब्रोकरलाई अनावश्यक रकम भुक्तानी गर्नु पर्दैन भने वित्तीय पारदर्शीता पनि प्रर्वद्धन गर्ने योजना रहेको व्यवस्थापक जर्नादन गौतमले बताए। पछिल्लो समय कम्पनीले ‘कारपुल’ को समेत व्यवस्था गरेको छ। कारपुल भनेको गाडी यात्राको साझेदारी हो, जसमा एकभन्दा बढी व्यक्तिले न्यूनतम मूल्यमा यात्रा गर्न पाउछन्। यो अवधारणा नेपालमा कोभिड र नाकाबन्दीको समयमा चलेको थियो। कारपुल सेवा अन्तर्गत ग्राहकहरुले सजिलै आफ्नो गन्तव्यमा पुग्नका लागि सोहि ठाउँमा जाने योजना बनाएका मानिसका बिचमा सम्पर्क गराउँछ। यो फिचर प्रयोग गर्दा यात्रुहरुले कम्पनीलाई कुनै शुल्क बुझाउन पर्दैन। कारपुलको मुख्य फाइदा निरन्तर यात्रा गरिरहने यात्रुहरुलाई हुन्छ। यो सेवा लिँदा यात्रा गरिराख्ने यात्रुले बजारमा गएर गाडी छान्नु पर्ने तथा गाडी समयमा नआउदा पर्ने मानसिक समस्याको सहज समाधान गर्न सक्छ। सञ्चालनमा आएको १ वर्षमा नै कम्पनीले नेपालभरी करिब २ हजार ५०० गाडीहरुबाट सेवा प्रदान गरिरहेको छ। विश्व प्रविधिमैत्री भइरहँदा सहज तरिकाबाट गाडी भाडामा लिने र दिने प्रवृतिको विकासका लागि सजिलो रेन्टल मोबाइल एप सञ्चालनमा आएको हो। एण्ड्रोइड फोनका प्रयोगकर्ताले गुगल प्ले तथा आइफोनका प्रयोगकर्ताले एप्पलको एप स्टोरबाट सजिलो रेन्टल एप डाउनलोड गरी सेवा सुरु गर्न सक्छन्। काठमाडौँको पुतली सडकमा कार्यालय रहेको सजिलो एपको उपलब्ध गराइएको मेसेन्जरबाट पनि सिधै सवारी साधन बुक तथा जानकारी लिन सकिने कम्पनीले जनाएको छ।
वसन्त ऋतुसँगै घोडेपानी र पुनहिलमा पर्यटकको लर्को गलेश्वर। वसन्त ऋतुको मौसम। छर्लङ्गै खुलेको आकाश। उत्तरतर्फका सेताम्ये हिमाल। जङ्गलभरि राताम्ये भएर फुलेका लालीगुराँस। लालीगुराँसको छेडोबाट हिमाल हेर्दै रमाइरहेका पर्यटक। म्याग्दीको पर्यटकीयस्थल घोडेपानी र पुनहिलको यो दृश्यले यहाँ पुग्नेको मात्र होइन त्यो दृश्यको भिडियो तथा तस्वीर हेर्नेकोसमेत मन रोमाञ्चक बनाउँछ। चक्रीय अन्नपूर्ण पदमार्गमा पर्ने घोडेपानी र पुनहिलबाट आँखै अगाडि हिमशृङ्खला र सूर्योदयको मनोरम दृश्यावलोकनका लागि अहिले आन्तरिक तथा बाह्य पर्यटकको भीड लागेको छ। समुन्द्री सतहबाट तीन हजार दुई सय १० मिटर उचाइमा रहेको पुनहिलमा वसन्त ऋतुसँगै पर्यटकको भीड लागेको हो। अन्नपूर्ण संरक्षण क्षेत्रको गुराँसे जङ्गलमा १९ प्रजातिका गुराँस पाइन्छन् । घोरेपानीदेखि एक घन्टाको पैदल दूरीमा उकालो हिँडे पछि पुगिने पुनहिलमा अहिले पर्यटकको भीड लागेको स्थानीय सुरेन गुरुङले जानकारी दिए। धौलागिरि, नीलगिरि, अन्नपूर्ण, माछापुच्छे« हिमाल हेर्न आन्तरिक तथा बाह्य पर्यटकको भीड लागेको घोडेपानी प्रहरीचौकीले जनाएको छ। प्रहरी सहायक निरीक्षक सन्तोष भुसालका अनुसार पुनहिलबाट आठ हजार मिटरभन्दा अग्ला मनास्लु, अन्नपूर्ण र धौलागिरि हिमालको दूरीमा पर्ने झन्डै २० भन्दाबढी हिमचुचुरालाई नजिकबाट नियाल्न सकिन्छ। अहिले दैनिक प्रतिदिन तीन सयदेखि पाँच सयसम्म आन्तरिक तथा बाह्य पर्यटक घोडेपानी र पुनहिल आउने गरेका छन्। धेरैजसो पर्यटक घान्द्रुक एवं अन्नपूर्ण बेसक्याम्प (एबिसी) बाट फर्कने तथा पोखराबाट घोरेपानी आएर घान्द्रुक र एबिसीतिर जाने गरेका उनले जानकारी दिए। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित पर्यटकीयस्थल घोरेपानी र पुनहिलमा पर्यटकको चहलपहल सुरु हुन थालेपछि होटल व्यवसायी उत्साहित बनेका छन्। वसन्त ऋतुको अनुकूल मौसममा आन्तरिक पर्यटक प्राकृतिक सुन्दरतामा रमाउन पुनहिल पुग्न थालेका हुन्। मौसममा सुधार आएसँगै यस क्षेत्रको भ्रमणमा आउने अन्तरिक तथा विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि हुन थालेको होटल व्यवसायीले बताएका छन्। विश्वप्रसिद्ध चक्रीय अन्नपूर्ण पदमार्गले समेटिएको घोरेपानी र पुनहिल क्षेत्रमा पर्यटकको चहलपहल बढ्न थालेपछि होटल व्यवसायी उत्साहित भएको घोडेपानी टोल सुधार समितिका अध्यक्ष विरेन पुनले बताए। चक्रीय अन्नपूर्ण पदमार्गमा पर्ने पुनहिलबाट हिमशृङ्खला र सूर्योदयको सुन्दर दृश्यावलोकन गर्न पाइन्छ। घोरेपानीदेखि पुनहिलसम्म पुग्न पदमार्ग निर्माण गरिएको छ। वसन्त ऋतुको सुरुआतसँगै पर्यटकको आगमन बढेको घोडेपानी होटल व्यवस्थापन समितिका अध्यक्ष मीना पुनले बताए। पुनहिलमा बिहानीको सूर्योदयसँगै आँखै अगाडि देखिने हिमशृङ्खलाको अवलोकनका लागि पर्यटक पुग्ने अन्नपूर्ण–५ शिखका बासिन्दा सुरेन गुरुङले जानकारी दिए। सूर्योदयको दृश्यावलोकनसँगै पूर्वदेखि पश्चिमसम्म नै लहरै देखिने हिमचुचुराको दृश्यले पर्यटक खुसी भएर फर्कने गरेको गुरुङले बताए। घोरेपानीमा सानाठूला गरी ३० होटलमा चार सय शय्या छन्। प्राकृतिक सौन्दर्यमा रमाउन आएका आन्तरिक पर्यटकको भीडले तातोपानीका होटल तथा गेस्ट हाउस पनि खचाखच भरिएका छन्। हिमाल तथा गुराँसकै कारण घोडेपानी र पुनहिल चिनिएका छन्। प्रकृतिको सदाबहार सौन्दर्य, हिमशृङ्खलाको आकर्षण, स्थानीय सहयोगी तथा सेवा भावनाले घोडेपानी र पुनहिलको समृद्धि चुलिँदै गएको घोडेपानीका होटल व्यवसायी एवं अन्नपूर्ण गाउँपालिकाका पूर्वअध्यक्ष क्या डमबहादुर पुनले बताए। “पर्यटकका लागि मगर, गुरुङ बस्ती, कला, संस्कृति जीवनशैली, हिमशृङ्खला, सूर्योदय, लालीगुराँस जङ्गल पदमार्गको मुख्य विशेषता हो”, उनले भने, “घान्द्रुक घोडेपानी क्षेत्रमा चिनियाँ, फ्रेन्च, कोरियन र मलेसियन पर्यटक बढीमात्रामा पुग्ने गरेका छन्।” म्याग्दी, मुस्ताङ, कास्की, लमजुङ र मनाङलाई समेटिएको अन्नपूर्ण संरक्षण क्षेत्र भ्रमण गर्न पछिल्लो समय सार्क राष्ट्रका पर्यटकलाई प्रतिव्यक्ति रु एक हजार र तेस्रो मुलुकका पर्यटकलाई प्रतिव्यक्ति रु तीन हजार शुल्क लिने गरिएको छ। घोडेपानीमा जति पनि पूर्वाधार निर्माण भएका छन्, त्यसमा सरकारको लगानी थोरै र स्थानीयको श्रम बढी रहेको स्थानीय विरेन पुनले बताए। कास्कीको पोखरा–नयाँपुल, घान्दु्रक हुँदै घोरेपानी तथा म्याग्दी सदरमुकाम बेनी–तातोपानी, घारा, शिखदेखि घोरेपानी र नागी–महरेडाँडाबाट पुनहिल पुग्न सकिन्छ। अन्नपूर्ण पदयात्रा मार्ग सुरु भएपछि बाटो हिँड्ने पर्यटकका लागि चिया, नास्ता खुवाउन खुलेका साना होटल पर्यटकको बाक्लो आगमन बढ्दै गएपछि सुविधासम्पन्न होटल बनेका छन्। पर्यटक आगमन बढ्न थालेपछि प्रहरीले सुरक्षाका लागि गस्ती गर्न थालेको छ। अन्नपूर्ण पदयात्रा मार्ग विश्वका उत्कृष्ट १० गन्तव्यभित्र पर्छ। म्याग्दीको घोडेपानी, पुनहिल, कास्कीको घान्द्रुक, लान्द्रुक, एबिसी क्याम्प, घम्पुसलगायत पर्यटकीयस्थल पदयात्राको आकर्षण बनेको छ। वीरेठाँटीबाट भित्रिएका आधाजसो पर्यटक छोमरोङ हुँदै अन्नपूर्ण आधारशिविर अर्थात् एबीसी पुग्ने गर्छन्। पदयात्रामा जाने पर्यटकको आवास र खानाका लागि घोडेपानीमा सुविधासम्पन्न होटल सञ्चालनमा छन्। पर्यटकको आवागमन बढ्दै गएपछि होटल व्यवसायीलेसमेत सेवासुविधालाई गुणस्तरीय बनाउँदै लगेका स्थानीय होटल व्यवसायीले बताएका छन्। घोडेपानीमा सानाठूला गरी ३० होटलमा चार सय शय्या क्षमता छ। कहिलेकाहीँ धेरै पर्यटक भएपछि होटलको आँगनमा टेन्ट राखेर पनि बास दिने गरेको घोडेपानी होटल व्यवस्थापन समितिका अध्यक्ष पुनले बताए। घोडेपानी पुगेका धेरै पर्यटक हिमाल पारीको पर्यटकीय जिल्ला मुस्ताङको प्रवेशद्वारका रूपमा चिनिएको म्याग्दीमा धौलागिरि र अन्नपूर्ण हिमाल आरोहण, प्राकृतिक तातोपानी कुण्ड, अन्नपूर्ण धौलागिरि, धौलागिरि सेञ्चुरी, धौलागिरि चक्रीय, धौलागिरि आइसफल, टोडके, रुप्से झरना, अन्धगल्छी, गलेश्वर, बेनी बजारलगायत विभिन्न धार्मिक, प्राकृतिक र ऐतिहासिकस्थलको भ्रमणमा पर्यटक पुग्ने गर्छन्।
माउण्टेन डिउको नयाँ प्रचार सार्वजनिक काठमाडौँ। माउण्टेन डिउले अनूप विक्रम शाहीको साथमा डरको अगाडि जीत छ भन्ने मन्त्रलाई दोहोर्‍याएको छ। ब्राण्ड सद्भावनादूत अनूप विक्रम शाहीलाई नयाँ टिभिसिले एउटा ठूलो जोखिमपूर्ण स्टन्टमा प्रस्तुत गरेको छ। माउण्टेन डिउले सधैं नै साधारण र असाधारणबीचको भिन्नता भनेको डर र आत्म शंकाभन्दा पर जाने निर्णय हो भन्ने मान्यतालाई कायमै राखेको छ। नेपाली युवाहरुलाई पकड राख्ने र चिन्तनशील विचारको सिनेम्याटिक टिभिसिमार्फत् उनीहरु भित्रको डरभन्दा बाहिर निस्कन अभिप्रेरित गर्दै आएको प्रयासलाई निरन्तरता थप्दै माउण्टेन डिउले ब्राण्ड सद्भावनादूत अनूप विक्रम शाही अभिनीत आफ्नो नयाँ फिल्म सार्वजनिक गरेको छ। जिन्दगी–भन्दा–ठूलो, अत्यन्त जोखिमयुक्त स्टण्ट र प्रेरणादायी कथा भएको यो नयाँ प्रचार अभियानले ब्राण्डको विद्यमान “डरको अगाडि जीत छ” भन्ने मूल मन्त्रलाई नेपाली उपभोक्ताहरुमाझ अझ व्यापक बनाउने विश्वास गरिएको छ। अत्यन्त जोखिमले भरिएको फिल्म अनूपले एउटा कार्गो प्लेनमा एकदमै उच्च स्थानबाट यसभन्दा अघि कहिल्यै नगरेको बिना सहायता हामफाल्ने स्टण्ट गर्न लागेकोबाट शुरु हुन्छ, जुन स्टण्टको टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिरहेको हुन्छ। जब उसको समुहले स्टण्टको जोखीम स्थानमा औल्याउँदछ तब हामीले अनूपले आफ्नो् अगाडि आएको छनौटको मुल्याँकन गरेर चिन्ता लिएको देख्छौं। त्यस्तैमा उसले माउण्टेन ड्युको एक चुस्कि पिए पश्चात् उसको मुहारमा आएको दृढता देखिन्छ र उसले चुनौतीको सामना निर्धक्कपूर्वक गर्दछ अनि सबैका सामू ऊ विजेता बनेर उभिन्छ। फिल्ममा माउण्टेन डिउको विश्वासलाई दर्शाइएको छ, जस अनुसार अगाडि आइपरेको चुनौतीहरु सामना गर्नु पर्दा त्यहाँ २ रोजाईहरु हुन्छन् या त डरदेखि डराएर भाग्ने अथवा डरलाई जितेर अगाडि बढ्ने–यही नै त्यो रोजाई हो जसले वास्तविक हिरोहरुलाई बाँकी अरुभन्दा भिन्न राख्दछ। प्रचार अभियानको बारेमा जानकारी दिंदै पेप्सीको, नेपालका वरिष्ठ मार्केटिङ्ग डाइरेक्टर अनुज गोयलले भने,“डरको अगाडि जीत छ” भन्ने आदर्श वाक्यका साथ माउण्टेन डिउले सधैं नै जोखिम मोल्नेहरुलाई सलाम गर्दै आएको छ र ग्राहकहरुलाई उनीहरुको डरसंग जुधेर, कठिनाईहरुको सामना गर्दै सफलता चुम्न हौस्याउँदै आएको छ। यो हाम्रो नयाँ रोमाञ्चकारी र अत्यन्त जोखीमपूर्ण स्टण्टमार्फत् माउण्टेन ड्युले वास्तविक हिरोहरु ती हुन् जसले उनीहरुको अगाडि आइपरेको चुनौतीको डटेर सामना गर्दछन् र विजेता बनेर उभिन्छन् भनेर दर्शाउने लक्ष्य लिएको छ। हामी एकपटक फेरि अनूपसंग सहकार्य गर्न पाएकोमा हौसिएका छौं, जसले माउण्टेन ड्युको आदर्शलाई वास्तविकतामा परिणत गरिदिएको छ। हामी आशावादी छौं कि हाम्रा उपभोक्ताहरु र अनूपका प्रशँसकहरुले माउण्टेन ड्युसंगको डरको अगाडि जीत छ भन्ने यो विश्वासलाई गुञ्जायमान गराउनु हुनेछ।” टिभिसि सुटिङ्ग गर्दाको आफ्ना् अनुभव सुनाउँदै ब्राण्ड सद्भावनादूत अनूप विक्रम शाहीले भने,”माउण्टेन डिउको लागि यो नयाँ रोमाञ्चक विज्ञापन सूट गर्नु मेरो लागि एक मुटु कमाउने अनुभव रह्यो। सधैंजसो यसप्रकारको प्रतिष्ठित ब्राण्डसंग आबद्ध हुन पाउनु र डरको अगाडि जीत छ भन्ने आदर्श, जसलाई मैले पनि अँगीकार गरेको छु, त्यसलाई समर्थन गर्न पाउनुले मलाई हर्षित बनाएको छ। मलाई विश्वास छ कि नयाँ प्रचार अभियानले नेपालका युवाहरुलाई प्रोत्साहित गर्नेछ र उनीहरुलाई उनीहरुका डरहरुसँग जुध्न हिम्मत जुटाउनेमा विश्वस्त छु र बाधाहरु साना ठूला चाहे जे भएपनि त्यसमाथि विजयी हासिल गरेरै छाड्ने्छन्।” नयाँ माउण्टेन डिउ प्रचार अभियान र टिभिसि टिभि, डिजिटल, आउटडोर र सोसल मिडियाभर व्यापकरुपमा प्रचार प्रसार गरिनेछ। माउण्टेन ड्यु आधुनिक एवं परम्परागत पसलहरुका साथसाथै अग्रणी इ–कमर्स प्लेटफर्महरुभरी सिंगलरमल्टि सर्भ प्याकहरुमा उपलब्ध रहेको छ।
दश हजार विदेशी श्रमिक नेपालमा, सबैभन्दा बढी चिनियाँ काठमाडौँ। नेपालका ठूला परियोजनामा देखिएको दक्ष श्रमिकको अभाव विदेशबाट पूर्ति हुँदै आएको छ। यहाँ सञ्चालित विभिन्न परियोजनामा आवश्यक दक्ष श्रमिकको आपूर्ति विदेशबाट हुँदै आएको सरकारी तथ्याङ्कले देखाएको छ। विदेशी श्रमिकलाई नेपालमा काम गर्ने इजाजत दिँदै आएको श्रम तथा व्यवसायजन्य विभागका अनुसार अहिले त्यस्ता परियोजनामा करिब एक सय भन्दाबढी मुलुकका श्रमिक कार्यरत छन्। नेपालमा सबैभन्दा बढी चिनियाँ श्रमिक छन्। बेलायत, अमेरिका, दक्षिण कोरिया, भारत, जापानलगायत मुलुकका श्रमिकको सङ्ख्या पनि उल्लेख्य छ। सन् २०१७ यता सबैभन्दा बढी सात हजार पाँच सय चिनियाँ नागरिकले श्रम इजाजत लिएर नेपालमा काम गरेका छन्। दुई हजार चार सय ९५ पुराना (नवीकरण) र पाँच हजार २४ नयाँ चिनियाँ श्रमिकले श्रम इजाजत लिएका छन्। संयुक्त अधिराज्यका चार सय ८८, संयुक्तराज्य अमेरिकाका तीन सय ३२, दक्षिण कोरियाका दुई सय ४०, भारतका दुई सय ३०, जापानका एक सय ९०, अष्ट्रेलियाका एक सय १६, श्रीलङ्काका एक सय १३, जर्मनीका ९८, इटालीका ८२, फ्रान्स र फिलिपिन्सका ७९÷७९ तथा बङ्गलादेशका ५६ श्रमिक कार्यरत रहेका विभागको तथ्याङ्कमा उल्लेख छ। विभागका महानिर्देशक कृष्णप्रसाद ज्ञवालीले विदेशी दक्ष श्रमिकले नेपालमा अनुमति लिएर काम गर्दै आएको बताए। नेपालमा सञ्चालित चिनियाँ परियोजनाको सङ्ख्या बढी भएकाले यहाँ काम गर्ने चिनियाँ श्रमिकको सङ्ख्या अन्य मुलुकको तुलनामा बढी देखिएको उनको भनाइ छ। “नेपालमा धेरै चिनियाँ प्रोजेक्ट सञ्चालित छन्, द्रुतमार्ग, सडक, जलविद्युत्, भूकम्पपछिको पुनःनिर्माणका परियोजना तथा विभिन्न ठेक्कामा चिनियाँ श्रमिकको संलग्नता रहको छ”, उनले भने। प्रोजेक्ट इञ्जिनियर, सुरुङ तथा हाइड्रो इञ्जिनियर, विभिन्न गैरसरकारी संस्था, पाइटल, मेन्टिेनेन्स इञ्जिनियर, मेकानिलकलगायत प्राविधिक पदमा विदेशी श्रमिक संलग्न हुने गरेको विभागले जनाएको छ। रोजगारदाताले कुनै विदेशी नागरिकलाई काममा लगाउँदा विदेशी नागरिक राख्नका लागि विभागबाट श्रम इजाजत लिनुपर्ने व्यवस्था छ। विभागले विदेशी नागरिकको श्रम इजाजत व्यवस्थापनसम्बन्धी निर्देशिका–२०७५ अनुसार विदेशी श्रमिकलाई श्रम इजाजत दिँदै आएको छ। गृहको कार्य सहमतिका आधारमा श्रम स्वीकृति नेपालमा काम गर्न आउने विदेशी श्रमिकलाई सम्बन्धित मन्त्रालयको सिफारिश र गृह मन्त्रालयका कार्य सहमतिका आधारमा मात्रै श्रम स्वीकृति दिइँदै आएको विभागका महानिर्देशक ज्ञवालीले जानकारी दिए। “नेपालमा श्रम गर्नका लागि कामसँग सम्बन्धित मन्त्रालको सिफारिस र गृह मन्त्रालयको कार्यसहमति लिनुपर्ने व्यवस्था छ”, उनले भने, “सोही आधारमा विभागले उपलब्ध गराएको श्रम इजाजतपछि मात्र अध्यागमन विभागले श्रमिकलाई प्रवेशाज्ञा दिने गर्छ।” विभागले विदेशी श्रमिकलाई एक वर्षका लागि श्रम इजाजत दिने गरेको छ। प्रत्येक वर्ष श्रम इजाजत नवीकरण गर्नुपर्छ। विशिष्ट दक्ष प्राविधिक श्रमिकको हकमा पटकपटक गरी बढीमा पाँच वर्ष र अन्य विदेशी श्रमिकको हकमा पटकपटक गरी बढीमा तीन वर्षका लागि श्रम इजाजत दिनेछ। ६ महिनाको अवधिका लागि प्रतिव्यक्ति रू १५ हजार र छ महिनाभन्दा बढी अवधिका लागि प्रतिव्यक्ति रू २० हजार दस्तुर तिर्नुपर्ने निर्देशिकामा उल्लेख छ। – रासस
ट्याङ्कीमा शव भेटिएपछि खानेपानीको वैकल्पिक व्यवस्था तनहुँ। जिल्लाको म्याग्दे गाउँपालिका–४ स्थित पीपलटार खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको खानेपानी ट्याङ्कीमा महिलाको शव भेटिएपछि वैकल्पिक खानेपानीको व्यवस्था गरिएको छ। सोही वडाको ढाडखोला मुहानबाट ल्याइएको पानी ट्याङ्कीमा सङ्कलन गरी वितरण हुँदै आएकामा अहिले सिधै पाइपबाट बस्तीमा पानी वितरण गरिएको हो। नौ वटा धाराबाट एक सय ३८ घरधुरीमा वैकल्पिक किसिमले पानी वितरणको व्यवस्था मिलाइएको पीपलटार खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष सन्देश अधिकारीले जानकारी दिए। गण्डकी प्रदेशका खानेपानी मन्त्रालयबाट रू तीन लाख ७० हजार बराबरको खानेपानी पाइप तत्काल उपलब्ध भएपछि पानी वितरणमा सहज भएको उनले बताए। दुई लाख २५ हजार घनमिटर क्षमताको खानेपानी ट्याङ्कीमा महिलाको शव भेटिएपछि केही दिन पानीको समस्या भएको थियो। पोखरा महानगरपालिका–३३ बाग्माराकी ४२ वर्षीया शान्ति श्रेष्ठको शव यही चैत १२ गते बिहान खानेपानीको ट्याङ्कीमा मृत अवस्थामा भेटिएको थियो।
भूपू सैनिक सम्मेलन मध्य पूर्वी पृतनामा सुरु बर्दिबास। नेपाली सेनाको मध्य पूर्वी पृतना हेडक्वार्टर मातहतका आठ जिल्लामा स्थायी बसोबास गर्ने भूतपूर्व सैनिकलाई लक्षित गरी ‘भूतपूर्व सैनिक सम्मेलन-२०७९’ यहाँ सुरु भएको छ। सम्मेलन जंगी अड्डाको व्यवस्थापन तथा नेपाली सेना कल्याणकारी बोर्डको संयोजकत्वमा भएको हो। प्रधानसेनापति प्रभुराम शर्माले महोत्तरीस्थित सेनाको मध्य पुर्वी पृतना, बर्दिबास सैनिक शिविरमा आज आयोजित विशेष समारोहबीच सम्मेलन उद्घाटन गरे। सम्मेलनमा महोत्तरी, धनुषा, सर्लाही, सिरहा, बारा, पर्सा, रौतहट र सप्तरीमा स्थायी बसोबास गर्ने करिब दुई हजार भूपू सैनिकको सहभागिता रहेको सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए। भूपू सैनिकहरुको कल्याणकारी कार्यलाई समन्वय गर्ने उद्देश्यले विस २०७० असोज २१ गते नेपाली सैनिक कल्याणकारी बोर्डको स्थापना भएको हो। नेपाली सैनिक कल्याणकारी बोर्डको स्थापना भएसँगै नेपाली सेनाले मुलुकका विभिन्न क्षेत्रमा निरन्तर रुपमा भूपू सैनिक सम्मेलन गर्दै आएको छ। हाल निवृत्तिभरणमा राजीनामा स्वीकृति भएका भूपू सैनिकको सङ्ख्या ८१ हजार छ सय ४३ रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। पारिवारिक निवृत्तिभरण उपभोग गर्नेको सङ्ख्या १५ हजार आठ सय ७२ समेत गरी कूल निवृत्तिभरण उपभोग गर्नेको सङ्ख्या ९७ हजार पाँच सय १५ छ। सम्मेलनमा भूपू सैनिकका प्रतिनिधिद्वारा मार्च, झाँकी प्रदर्शन, राष्ट्रिय गीतमा सामूहिक नृत्य, पिटी र सैनिक ब्याण्ड प्रदर्शन, ज्येष्ठ सैनिक सम्मान, ‘ह्वील चियर’ तथा बैसाखी वितरण, चारभन्दा बढी सन्ततिलाई सेनामा प्रवेश गराउने आमा÷बाबुलाई सम्मान, शताब्दी पुरुष/महिला सम्मान र अन्तरक्रिया तथा छलफल हुनेछ। अवकाश प्राप्त सैनिक एवं पारिवारिक निवृत्तिभरणमा रहेका व्यक्तिप्रति लक्षित सम्मेलनले विभिन्न दर्जा, नियुक्ति, युनिट र स्थानमा तैनाथ रही योगदान पुर्‍याएका पूर्वसैनिकको पुनर्मिलनको ठूलो अवसर प्रदान गरेको छ। सम्मेलनबाट सैनिक नेतृत्वले विभिन्न स्थानमा पुगेर पूर्वसैनिक एवं तिनका परिवारसँग अन्तरक्रिया गर्ने हुँदा सेनाले आफ्ना हिताधिकारीको कल्याणका लागि गरिरहेका प्रयासको मूल्याङ्कन तथा भावी योजना तर्जुमा गर्न महत्वपूर्ण सुझाव प्राप्त हुनेछ। सेना, सैनिक नेतृत्व र हिताधिकारीबीच आत्मियता, भरोसा एवं विश्वास वृद्धि हुने यस्तो जमघटबाट सम्पूर्ण हिताधिकारीको सामाजिक प्रतिष्ठा र आत्मसम्मानसमेत वृद्धि हुने सेनाले अपेक्षा गरेको छ। पूर्वसैनिकमा देश तथा संस्थाप्रतिको आस्था र भरोसालाई सम्मान गर्ने उद्देश्य रहेको सम्मेलन उनीहरूले राष्ट्रसेवामा पु¥याएको योगदानको कदर गर्ने अवसर रुपमा रहने गरेको छ।
बसपार्कमा टर्मिनल भवन निर्माण बेनी। म्याग्दी सदरमुकाम बेनीस्थित कालीपुल बसपार्कमा टर्मिनल भवन निर्माण भएको छ। सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङले बेनी नगरपालिका–८ मा रहेको कालीपुल बसपार्कलाई व्यवस्थितरुपमा सञ्चालनका लागि गुरुयोजनाअनुसार टर्मिनल भवन निर्माण सम्पन्न गरेको हो। देशका विभिन्न ठाउँका लागि छुट्ने र म्याग्दी आउने सवारी साधनलाई बिसौनीको रुपमा प्रयोग हुँदै आएको कालीपुलमा यात्रुलाई सहज सुविधाका लागि टर्मिनल भवन निर्माण गरिएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताए। भवन निर्माण सम्पन्न भएसँगै बेनी नगरपालिकाले यातायात व्यवसायीका टिकट काउण्टरलाई टर्मिनल भवनमा राख्ने तयारी थालेको छ। सघन सहरी तथा भवन आयोजना कार्यालय बागलुङसँग भ्याटसहित रु दुई करोड ८५ लाखमा योजना सम्झौता गरेको शुभ कन्स्ट्रक्सन काठमाडौँले भवन निर्माणको काम सम्पन्न गरेको छ। आयोजनाकी इन्जिनियर बिना साकटुले भवन निर्माण कार्य सम्पन्न भएको र केही दिनमा बेनी नगरपालिकालाई हस्तान्तरण गर्ने योजना रहेको जानकारी दिए। नवनिर्मित भवनमा सार्वजनिक शौचालय, बाथरुम, टिकट काउन्टर र यात्रु प्रतीक्षालयलगायतको सुविधा रहेको छ। अपाङ्गमैत्री भौतिक संरचना निर्माण गरिएको टर्मिनल भवनमा नगरले टिकट काउण्टर सञ्चालनका लागि प्रयोग गर्ने जनाएको छ। आयोजनाले भवन हस्तान्तरण गरेर नगरपालिकाको स्वामित्वमा आएमा टिकट काउण्टरको रुपमा प्रयोग गरिने नगर प्रमुख केसीले बताए। अहिले बसपार्क क्षेत्रमा अस्थायी पूर्वाधार र अन्य क्षेत्रमा काउण्टर राखेर सेवा दिँदै आएका यातायात व्यवसायीले टर्मिनल भवनमा मात्रै काउण्टर राख्ने भएपछि यात्रुलाई समेत सहज हुने भएको छ। सवारी साधनको बढ्दो चापलाई मध्यनजर गर्दै बसपार्कमा रहेका पुराना अव्यवस्थित संरचना हटाउँदै बसपार्कलाई व्यवस्थित र फराकिलो बनाउन लागिएको छ। विसं २०७४ मा सहरी विकास मन्त्रालयले रु २१ करोड लागत अनुमानमा बसपार्कको गुरुयोजना तयारी पारेको थियो। गुरुयोजनाअनुसार बसपार्कमा नगरपालिका, प्रदेश र सङ्घ सरकारको सहकार्यमा बसपार्क ढलान गर्ने, नाली निर्माण गर्नेलगायतका पूर्वाधार निर्माण भइरहेको छ। विसं २०६४ मा पर्वत र म्याग्दी जोड्ने कालीगण्डकी नदीमाथि पक्की मोटरेबल पुल निर्माण भएपछि कालीपुलमा बसपार्क सञ्चालन भएको थियो।
कुपोन्डोलको गाडी सर्भिसिङ सेन्टरमा आगलागी, १२ सवारीसाधन जले काठमाडौँ। ललितपुरको कुपण्डोलस्थित महिन्द्राको सर्भिसिङ सेन्टरमा आगलागी भएको छ। ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धि विक्रम शाहका अनुसार सोमबार बिहान ४ः४० बजे देखी सो सर्भिसिङ सेन्टरमा आगलागी सुरु भएको हो। उनका अनुसार खवर पाए लगतै नेपाल प्रहरीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको भएपनि आगलागीमा परेर ७ वटा चारपांग्रे गाडी, ३ वटा मोटरसाइकल र २ वटा स्कुटरसहित १२ वटा सवारी साधान भने जलेर ध्वस्त भएका छन्। घटनाबाट भएको थप क्षतिको पूर्ण विवरण भने आइनसकेको एसएसपी शाहको भनाई छ।
एलपी ग्याँस बोकेको भारतीय टयाङकर पल्टिदा एकको मृत्यु चितवन। एलपी ग्यास बोकेको भारतीय ट्यांकर पल्टिँदा एक जनाको मृत्यु भएको छ। चितवनको मुग्लिनबाट काठमाडौंतर्फ गइरहेको युपी ७० डिटी ६०५५ नम्बरको भारतीय ट्यांकर अनियन्त्रित भई सडक छेउमा पल्टिदा सो टयाङकरमा सवार एकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पण्डितले बताए। मृतकको नाम पहिचान हुन सकेको छैन। सो दुर्घटनामा परेर अर्का एक जना गम्भीर घाइते भएका छन भने घाइतेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।
आजको मौसम: पाँचवटा प्रदेशमा मेघ गर्जनसहित पानी पर्ने संभावना काठमाडौं। हाल देशमा पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानमा साथै बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ। उता राति भने सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका थोरै स्थानहरूमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित हल्का र क्षणिक वर्षाको सम्भावना हुनाले मेघगर्जन र चट्याङ तथा हावाहुरीबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
ब्रेललिपिमै एसइई दिन चाहन्छन् दृष्टिविहीन विद्यार्थी झापा। इलामको माई नगरपालिकाका दृष्टिविहीन सविन विक झापाको गरामनीस्थित दुर्गा माध्यमिक विद्यालयबाट एसइई परीक्षा दिइरहेका छन्। उनी सो विद्यालयका आवासीय विद्यार्थी हुन्। राष्ट्रिय परीक्षा बोर्डले घरपायक (होम सेन्टर) विद्यालयमा परीक्षा दिन पाउने व्यवस्था गरेपछि उनी जस्तै झापाका तीन दृष्टिविहीनले आफू पढिरहेकै विद्यालयमा जाँच दिन पाएका छन्। सेतो छडीको सहारामा परीक्षा केन्द्रमा पुग्ने सविन आफूले पढिरहेको भन्दा एक कक्षामुनिका विद्यार्थीलाई लेखन सहयोगी राखेर एसइईको परीक्षामा सहभागी छन्। दृष्टिविहीन र अन्य परीक्षार्थीका लागि बोर्डले दिएको सुविधा त्यही लेखन सहयोगी मात्र हो। प्रश्नपत्र उही छ। बस्ने कोठा उस्तै हो। परीक्षाको समयमा आधा घण्टा थप गरिएको हुन्छ। राम्रो ग्रेड ल्याएर एसइई उत्तीर्ण गर्ने सपना साँचेका सविन लेखन सहयोगी राखेर परीक्षामा सहभागी हुनुपरेकोमा सन्तुष्ट छैनन्। आफ्नो मनको भावना सहयोगीले पूर्णरूपमा व्यक्त गर्न नसक्ने उनको अनुभव छ। “हामी परीक्षासँग डराउँदैनौँ, हामीले पनि राम्रो अध्ययन र परीक्षाको तयारी गरेका हुन्छौँ”, बलियो आत्मविश्वासका साथ उनी भन्छन्, “तर, ब्रेललिपिमा उत्तर दिने अवसर पाएनौँ।” सविनलाई अध्यापन गराउँदै आएका दुर्गा माध्यमिक विद्यालयका स्रोत शिक्षक चन्द्र भट्टराई ब्रेललिपिमा परीक्षा दिन पाउने हो भने दृष्टिविहीनले उत्कृष्ट नतिजा ल्याउने विश्वास व्यक्त गर्छन्। शिक्षक भट्टराईले १२ दृष्टिविहीन विद्यार्थीलाई दुर्गा माविमा पढाउँदै आएका छन्। सो माविबाट एसइई परीक्षा दिइरहेका सविन विक र सन्देश लिम्बूले कक्षा ९ मा अध्ययनरत विद्यार्थीद्वय शिशिर मिश्र र फरिदा खातुनलाई लेखन सहयोगी राखेका छन्। दमकको सरस्वती माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट दृष्टिविहीन निर्मला कार्कीले एसइई परीक्षा दिइरहेकी छन्। पढिरहेकै विद्यालयलाई नै उपकेन्द्र बनाएर राष्ट्रिय परीक्षा बोर्डले दृष्टिविहीन विद्यार्थीलाई परीक्षा दिने व्यवस्था मिलाएका कारण निर्मलाले पनि एक जना लेखन सहयोगी राखेर जाँच दिइरहेकी छन्। परीक्षा हलमा परीक्षार्थीले जे जे उत्तर लेख्नु भन्छन्, लेखन सहयोगीले त्यही विवरण लेखिदिने काम गर्दै आएका छन्। यसरी मनको भावना अर्कालाई सुनाएर लेखाउँदा बोल्ने र लेख्ने व्यक्तिको शतप्रतिशत तारतम्य नमिल्ने शिक्षक भट्टराई बताउँछन्। “दृष्टिविहीन परीक्षार्थीको मनमा जुन भावना आउँछ, त्यो लेखन सहयोगीको भरमा अभिव्यक्त हुन सक्दैन”, उनी भन्छन्, “भन्दाभन्दै आधा कुरा बिर्सने सम्भावना हुन्छ भने बोल्ने आफ्नो मन र लेख्ने अर्काको हातको तालमेल पनि मिल्दैन।” उनले आगामी दिनमा दृष्टिविहीन परीक्षार्थीका लागि ब्रेललिपिमै परीक्षा दिन पाउने व्यवस्था गर्न राष्ट्रिय परीक्षा बोर्डलाई सुझाव दिए। ब्रेललिपिमा पढेका विद्यार्थीले ब्रेल लिपिमै परीक्षा दिन पाउनु जायज हुने उल्लेख गर्दै उनले दृष्टिविहीनका लागि प्रश्नपत्र बेग्लै हुनुपर्ने माग गरे। सामाजिक र विज्ञान विषयको चित्रात्मक प्रश्नपत्रको साटो दृष्टिविहीनका लागि वैकल्पिक प्रश्नपत्र दिइनु पर्ने शिक्षक भट्टराई सुझाव छ। दृष्टिविहीन विद्यार्थीका लागि गणित विषयको पठनपाठन र परीक्षा सबैभन्दा कठिन हुने गरेको छ। कक्षामा शिक्षकले प्रयोग गर्ने कालोपाटी उनीहरूका लागि उपयोगी हुँदैन। ज्यामितिमा प्रयोग हुने चित्र उनीहरूले नदेख्ने हुँदा सिकाइ नै प्रभावकारी हँुदैन। झापाका दृष्टिविहीनमध्ये तत्कालीन एसएलसी परीक्षा दिने पहिलो विद्यार्थी दीपक थापा पनि गरामनीस्थित दुर्गा माविकै हुन्। उनले २३ वर्षअघि २०५६ सालमा एसएलसी परीक्षा दिएका थिए। पहिले र अहिलेको परीक्षाको नाम फरक परे पनि परीक्षाको प्रणाली, शैली र विद्यार्थीले भोग्नु पर्ने समस्या उस्तै रहेको उनले बताए। ब्रेललिपिमा अध्ययन गरेकाहरूका लागि राज्यले ब्रेललिपिमै परीक्षा दिन पाउने व्यवस्था मिलाउन सक्नुपर्ने उनको भनाइ छ। “आफँैले लेख्न नपाएसम्म परीक्षा प्रभावकारी हुँदैन भनेर हामीले वर्षौंदेखि भन्दै आएका छौँ, तर कसैले हाम्रा माग सुनेनन्”, बिर्तामोड अपाङ्गता स्वावलम्बन संस्थाको अध्यक्षसमेत रहेका थापाले भने, “भाइबहिनीले कति दुःखले पढेका हुन्छन्। अर्काले लेखेर पास गरेको भनिदिँदा दृष्टिविहीन विद्यार्थीको स्वाभिमानमा पनि चोट पुग्ने गरेको छ।” दुर्गा माध्यमिक विद्यालयबाटै एसइई परीक्षा दिइरहेका दृष्टिविहीन सन्देश लिम्बूले पढाइमा तनमन लगाएर मेहनत गरेको जनाउँदै राम्रै नतिजा आउने अपेक्षा गरेका छन्। उनले पनि आफूले जाने र बुझेजति सबै उत्तर लेखन सहयोगीले लेखिदिन सम्भव नहुने बताउँदै ब्रेललिपिमा उत्तर लेख्न पाउने हो भने मन सन्तुष्ट हुने बताए। दुर्गा माध्यमिक विद्यालय परीक्षा केन्द्राध्यक्ष लक्ष्मण शिवाकोटीले यसपालि गणित विषयको प्रश्नपत्रमा दृष्टिविहीनका लागि वैकल्पिक प्रश्न राखिएको बताए। परीक्षार्थीहरू ब्रेललिपिमै परीक्षा दिन तयार रहेको कि नरहेको भनेर केही महिनाअघि केन्द्रीय बोर्डबाट सोध्दा ब्रेललिपिको सिफारिस गरिदिएको उनले बताए। सुस्त–श्रवण परीक्षार्थी १३ जना झापा जिल्लाका विभिन्न परीक्षा केन्द्रबाट १३ सुस्त–श्रवण विद्यार्थीले एसइई परीक्षा दिइरहेका छन्। तीमध्ये सात जना छात्र र छ छात्रा रहेको कनकाई–८ स्थित हिमाली माध्यमिक विद्यालयका स्रोत शिक्षक हरिप्रसाद अधिकारीले बताए। जिल्लाको कमलस्थित मङ्गलमय मावि, कनकाईस्थित हिमाली मावि र कनकाई मावि तथा बिर्तामोडको मोहनमाया माविमा सुस्त–श्रवण विद्यार्थीका लागि पढ्ने विशेष व्यवस्था रहेको छ। माध्यमिक तहको पढाइ भने हिमाली माविमा मात्र भइरहेको छ। साङ्केतिक भाषामा पढेका सुस्त–श्रवण विद्यार्थीलाई परीक्षा दिनभन्दा कक्षा कोठामा पढाएको बुझ्न गाह्रो हुने शिक्षक अधिकारी बताउँछन्।
कैलालीमा लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ कैलाली । कैलालीमा लागूऔषध ब्राउन सुगरसहित दुइ जना पक्राउ परेका छन् । जिल्लाको धनगढी उप–महानगरपालिका–२ त्रिनगरबाट घोडाघोडी नगरपालीका–१ का १९वर्षका करन परीयार र सोहि ठाउँकै २२ वर्षका शिबराज ओझा पक्राउ परेका छन् । उनीहरुको साथबाट नौँ ग्राम १७० मिलिग्राम ब्राउन सुगर फेला पारेको कैलाली प्रहरीले बताएको छ । उनीहरु विरुद्ध लागुऔषधको मुद्धा चलाई थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
तिब्बती शरणार्थीलाई नागरिकता दिएको आरोपमा जिल्ला प्रशासन काठमाडौंका नासु पक्राउ काठमाडौं। तिब्बती शरणार्थीलाई नागरिकता दिएको आरोपमा सरकारी कर्मचारी पक्राउ परेका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौमा कार्यरत नायव सुब्बालाई पक्राउ गरिएको उपत्यका अपराध महाशाखाले जनाएको छ। आर्थिक चलखेलका आधारमा नेपाली नागरिकता दिलाएको आरोपमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंका नायब सुब्बा देवराज गौतम पक्राउ परेको महाशाखाले जनाकारी दिएको हो। गौतम लामो समयदेखि जिल्ला प्रशासनको नागरिकता फाँटमा कार्यरत थिए। उनले सयौँ तिब्बतीलाई फर्जी कागजपत्रका आधारमा नागरिकता दिन सहयोग गरेको आरोप छ। महाशाखाले यसअघि सो घटनामा संलग्न चारजनालाई यसअघि पक्राउ गरिसकेको छ। लेखापढी व्यवसायी कृष्णबहादुर कटवाल, हिरालाल शिवाकोटी, नक्कली बाबु बनेका न्युल्केश श्रेष्ठ र तनहुँको शरणार्थी क्याम्पमा बस्दै आएका लोब्साङ ठिन्लेलाई ५ चैतमा पक्राउ गरेको थियो।
पुष्प मेलामा रु ८४ लाखको कारोबार काठमाडौं। पुष्प व्यवसायको प्रवद्र्धन गर्ने मुख्य उद्देश्यसहित सुरु भएको २४औँ फ्लोरा एक्स्पो मेलामा लक्ष्यभन्दा बढी रु ८४ लाखको आर्थिक कारोबार भएको छ। यही चैत १७ देखि सुरु भएको मेलामा ३८ हजारले अवलोकन गरेका छन्। मेलामा जम्मा रु ७५ लाख कारोबार हुने लक्ष्य लिइएको थियो तर तीन दिनमै लक्ष्यभन्दा बढी कारोबार भइसकेको छ। सोमबारसम्म रु एक करोड कारोबार हुने फ्लोरिकल्चर एशोसिएशन नेपालको अध्यक्ष मीनबहादुर तामाङको विश्वास छ। उनका अनुसार करिब ५० हजारले मेलाको अनुगमन गर्नेछन्। मेलामा विशेषगरी घरभित्र सजाउन प्रयोग गरिने फूल र घर बाहिर बगैँचामा सजावटको लागि प्रयोग गरीले फूल उपभोक्ताको रोजाइमा परेको छ। फ्लोरिकल्चर एशोसिएशन नेपालको आयोजनामा सञ्चालन गरिएको मेलामा ७० वटा कक्ष रहेका छन्। जसमा व्यवसायी ६० छ भने सूचनामूलक १० कक्ष रहेका छन् । मेलामा चार सय ५० भन्दा बढी फूल बिरुवाको प्रदर्शन गरिएको छ। त्यसैगरी नर्सरी व्यवसायीद्वारा उत्पादित आलङ्कारिक फूल बिरुवा, मौसमी फूल, स्टल सजावट, बगैँचा सजावट, पुष्प सजावटजस्ता उत्कृष्ट विधामा प्रतिस्पर्धा गराइ पुरस्कृतसमेत मेलामा गराइनेछ। मुख्यगरी तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये केही सयपत्री फूलको मालामात्रै भारतबाट ल्याउने गरिएको छ। अन्य समयमा प्रयोग हुने फूलमा भने देश आत्मनिर्भर भइसकेको छ। फूलको मागमा आएको वृद्धिसँगै विशेष गरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४३ जिल्लामा पुष्पखेती विस्तार भइसकेको छ। नेपालमा हाल व्यावसायिक रूपमा चार सय ५० प्रजातिका फूल उत्पादन हुँदै आएको छ। नेपालमा विसं २००७ देखि सुरु भएको पुष्प व्यवसाय सहरीकरणको विकास तथा विस्तारसँगै फस्टाउँदै गएको छ। कात्तिकदेखि फागुनसम्म विभिन्न चाडपर्व र विवाहको मौसम पर्ने हुँदा फूल बढी प्रयोग हुने गर्दछ। नेपालमा लगभग एक सय ५७ हेक्टर क्षेत्रफलमा सात सय व्यवसायीले यसको खेती गर्दै आएका छन्। कोरोना महामारीकै कारण विगतका वर्षमा लक्ष्यमा पुग्न निकै कठिन परेको भए पनि अहिलेकै अवस्थामा कारोबार गर्न सके यस वर्ष लक्ष्यमा पुग्न निकै सहज हुने विश्वास एसोसिएसनले लिएको छ।
निजी विद्यालयको सेटिङमा एसईईमा व्यापक चिट चोरी सिरहा। सिरहालगायत देशैभर सञ्चालनमा रहेको माध्यमिक परीक्षा (एसईई) दिन प्रतिदिन अमार्यादित बन्दै गइरहेको पाइएको छ। १७ चैतबाट देशैभर सञ्चालनमा रहेको एसईईको आइतबार दोस्रो दिनको गणित विषयको परीक्षामा सरोकारवाला निकायसँगको सेटिङमा व्यापक चिट चोरी गराई परीक्षालाई अमर्यादित बनाइएको पाइएको हो। निजी विद्यालयले सरोकारवाला निकायसँगको आर्थिक सेटिङमा एसईईमा चिट चोरी गराउने गरेका छन्। जिल्लाकै नाम चलेका निजी विद्यालयहरुले सरोकारवाला सबैलाई आर्थिक प्रभावमा पारेर परीक्षामा चोरी गराएको पाइएको छ। जनता माध्यमिक विद्यालय सोनमती गाढा, लहान १९ सेन्टरमा व्यापक मात्रामा चिट भेटिएको छ। आइतबारको गणित विषयको परीक्षा सकिएलगतै पुगेको सञ्चारकर्मीको समूहले कक्षाकोठामा यत्रतत्र फालिएको अवस्थामा चिट फेला पारेको छ। यस सम्वन्धमा केन्द्राध्यक्ष अरविन्द कुमार दाससँग प्रतिक्रिया लिँदा उनले कक्षा कोठामै केही विद्यार्थीले फ्याप बनाएको पाइएको बताए। उनले भने, ‘बाहिरबाट कुनै चिट आएको छैन, मेयरहरु अनुगमनको क्रममा आएकै बेला दुईजना विद्यार्थीले चिटसमेत तयार पार्दै गरको पाइएको थियो। अहिले उनीहरुलाई मैले नियन्त्रणमा राखेर कारबाही सिफारिस गर्दै छु।’ केन्द्राध्यक्ष दासले सबैैतिर प्रहरीको निगरानी भएकाले बाहिबाट कुनै चिट आउने सम्भाव नै नभएको बताए। परीक्षा केन्द्रभित्रै शिक्षक प्रयोग चिट बनेको छ। यस परीक्षा केन्द्रमा जनता माध्यमिक विद्यालय गोर्छारी, एपालो इंग्लिस बोर्डिङ स्कूल, मनोकामना इंग्लिस बोर्डिङ स्कूल, प्यारागन इंग्लिस बोर्डिङ स्कूल, शारदा आवासीय माध्यमिक विद्यालय, मोडर्न आदर्श स्कूल र नेशनल एकेडेमीको परीक्षा केन्द्र रहेको छ। यहाँ जम्मा २२४ विद्यार्थीले परीक्षा दिइरहेका छन्। ६ वटा कक्षा कोठा प्रयोग गरेर लिइरहेको परीक्षामा ११ जना गार्ड प्रयोग गरिएको केन्द्राध्यक्ष दासले जानकारी दिए। त्यसैगरी, सिरहाको नरहा–४ स्थित जनता वनबाली उच्च माध्यमिक विद्यालय बर्छबाको परीक्षा केन्द्रमा पनि केन्द्राध्यक्ष राम ईश्वर यादवले बोर्डिङ स्कुलका विद्यार्थीहरुलाई आफैँले मोबाइल दिने गरेको पाइएको छ। सिरहा प्रशासनले एसईई परीक्षालाई मर्यादित बनाउन मोबाइल प्रवेश निषेध गरिए पनि जिल्लाका विभिन्न परीक्षा केन्द्रहरुमा निजी विद्यालयको आर्थिक सेटिङमा मोबाइलको माध्यमबाट चिट चोरी भएको छ। सो केन्द्रमा जिल्लामा नाम चलेका निजी विद्यालयहरु सिरहा पब्लिक, बुढा निलकण्ठ, बालविकास आवासीय माध्यामिक विद्यालय, द डायनामिक सेकेन्ड्री इ.वोर्डिङ स्कुल र दुई सामुदायिक विद्यालयको परीप्क्षा सेन्टर रहेको जनाइएको छ। यो दुई विद्यालय मात्र नभई गोलबजार ८ स्थितको जनता माध्यमिक विद्यालय चोहर्वा ,जनता माध्यमिक विद्यालय गोलबजार नपा ९ डण्डा , सरस्वती माध्यमिक विद्यालय जम्दह, नमुना माध्यमिक विद्यालय गोलजार–४ लगायतका परीक्षा केन्द्रहरुमा पनि व्यापक चोरी भएको पाइएको छ। यी सबै परीक्षा केन्द्रहरुबाट परीक्षा सुरु भएको ५ मिनेट नबित्दै प्रश्नपत्र बाहिरिएको थियो। जमावि चोहर्वामा परीक्षा सुरु गरेको ५ मिनेटनमै मोबाइलको माध्यमबाट प्रश्नपत्र आउट भएको हुन सक्ने एकजना शिक्षकले बताए। उनले भन्ने, ‘निजी विद्यालयहरुले केन्द्राध्यक्षको सेटिङमा मोबाइल र फल्याप समेत चलाउने गरेकोले यसमा निजी विद्यालयभन्दा सामुदायिक विद्यालयका विद्यार्थीहरु मारमा परेका छन्। प्रश्नपत्र आउट भएको सूचना पाएलगतै केन्द्राध्यक्षले परीक्षा हलभित्रै सर्च गरेपछि परीक्षार्थीबाट चारवटाभन्दा बढी मोबाइल बरामद गरेका थिए। यता जिल्ला शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख रामवृक्ष महतोले मोबाइल र फल्यापबारे जानकारी नआएको र सो विषयमा बुझने प्रयास गरिरहेको छु। उनले भने, ‘निरीक्षणको समयमा हामीले कुनै विद्यालयमा फल्याप पाएनौँ, पाइए काडा कारबाही गर्ने छौँ।’ योवर्ष ४० वटा परीक्षा केन्द्रहरुमा जिल्लाका ८५ सामुदायिक र ८६ संस्थागत विद्यालय गरी १७१ विद्यालयबाट चार हजार ६९२ छात्रा र पाँच हजार ४५८ छात्रसहित १० हजार ६५० विद्यार्थी सहभागी भएका छन् । जसमध्ये प्राविधिक धारतर्फका केन्द्रबाट ३४९ जना विद्यार्थी १० परीक्षा केन्द्रबाट परीक्षामा सहभागी भएका छन्।
केरा बेचेर वार्षिक रू डेढ करोडभन्दा बढी आम्दानी गलेश्वर। पूर्वतर्फ फर्किएको चिटिक्कको गाउँ केराका घारीले छेकेर देखिदैनन् घर। करेसाबारीदेखि खेतबारीका गह्रा र पाखो जमिन तथा सडकका छेउछाउमा केरैकेराको गाउँको रूपमा पहिचान बनाएको म्याग्दीको बेनी नगरपालिका–२ खबराको दृश्य हो यो। सदरमुकाम नजिकै पर्ने खबरा र बगरफाँटमा गाउँभरी विस्तार गरिएको केराखेतीबाट यहाँका किसानले मनग्गे आम्दानी गर्न सफल भएका छन्। खबराका एक सय ६० घरधुरी र बगरफाँटका १८ घरधुरीका किसानले व्यावसायिक रूपमा गरेको केरा खेतीबाट दुई गाउँका किसानले वार्षिक रू डेढ करोड आम्दानी गर्दै आएका छन्। खबराका किसानले केरा खेतीबाट वार्षिक रू एक करोड गाउँमा भित्र्याउने गरेका छन् भने बगरफाँटका किसानले वार्षिक रू ५० लाखको हाराहारीमा केरा बिक्रि गर्ने गरेका छन्। यी दुई गाउँ पछिल्लो समय केरा गाउँको रूपमा चिनिन थालेका छन्। व्यापारीहरु केरा बगानमै आएर खरिद गर्ने गरेको खबराका किसान शोभत शर्मा सापकोटाले बताए। यहाँका किसानले १२ वर्षदेखि व्यावसायिक रूपमा केरा खेती गर्दै आएका छन्। “बजारमा ‘खबराको केरा’ को ब्राण्ड नै बनेको छ। मैलै १० वर्षदेखि केरा खेती गर्दै आएको छु। केरा खेतीबाट राम्रो आम्दानी हुन थालेपछि अहिले गाउँका धेरैजसो किसान यसैमा संलग्न हुन थालेका छन्”, उनले भने। खेतबारी, पाखा, कान्ला र खोल्सा सबैतिर केरा खेतीले छपक्कै ढाकेको किसान चन्द्रबहादुर कार्कीले बताए। यस क्षेत्रमा केरा खेतीको सुरुवात २४ वर्षअघि मानबहादुर थापा र चन्द्रबहादुर कार्कीले गरेको स्थानीय बताउँछन्। थापा र कार्कीले सुरु गरेको केरा खेती १२ वर्षदेखि व्यवसायिक बन्दै गएको स्थानीयको भनाइ छ। अहिले गाउँनै ढाक्ने गरी खेती गरिएको स्थानीय तेजेन्द्रबहादुर कार्कीले बताए। अन्य खेतीभन्दा केरा खेतीबाट राम्रो आम्दानी हुने भएपछि खबरा र बगरफाँटका किसान आकर्षित भएका उनको भनाइ छ। खबराका प्रत्येक घरधुरीले व्यावसायिकरुपमा हजारी जातको केराको खेती गरेका छन्। यहाँका किसानले वार्षिक रू एक करोडभन्दा बढी आम्दानी गर्ने गरेका कार्कीले बताए। स्थानीय शोभित सापकोटाले १० वर्षदेखि व्यावसायिक केरा खेती गरेर गाउँमा पक्की घर बनाएका छन्। करिब १६ रोपनी जमिनमा लगाएको केराबाट वार्षिक रू १० लाख आम्दानी हुने गरेको उनले बताए। परम्परागत खाद्यबालीको विकल्पका रूपमा खेतबारीमा व्यावसायिक केरा खेती गर्न थालेपछि खबरावासीको आर्थिक अवस्थामा निकै सुधार आएको सापकोटाको भनाइ छ। थोरै लगानीमा छिटो आम्दानी गर्न सकिने, बजार नजिक र अन्य बालीको तुलनामा सजिलो भएकाले केरा खेतीतर्फ किसान आकर्षित भएका हुन्। बिरुवा रोपेको दुई वर्षमा पसाउन थाल्ने र पसाएको पाँच महिनामा बिक्रीका लागि तयार हुन्छ। उत्पादन भएको केरा नजिकैको बेनी बजारमा सहजै बिक्री हुन्छ। “धान, कोदो, मकै, गहुँभन्दा केरा खेतीबाट राम्रो आम्दानी गर्न सकिन्छ”, बबिता सापकोटाले भनिन्, “पाँच रोपनीमा केरा खेती गरेका छौँ। वार्षिक चार देखि पाँच लाखसम्म आम्दानी हुन्छ।” उनले १० वर्षदेखि केरा खेती गर्दै आएकी छन् । छोराछोरी पढाउन र घरखर्च चलाउन कुनै समस्या नभएको उनको भनाइ छ। सापकोटाले भनिन्, “केरा बिक्री गरेर आएको पैसाले छोराछोरीलाई काठमाडौंँ राखेर पढाउन पुगेको छ।” उनले उत्पादन भएको केरा घरबाटै बिक्री हुने बताइन्। सापकोटाले भनिन्, “केरा लिन बेनीदेखि व्यापारी घरमा आउँछन्, राम्रो कोसाको प्रतिदर्जन रू एक सय २० मा बिक्री हुन्छ।” खबराका हरि कुँबरले पनि १० रोपनी जमिनमा केरा खेती गरेका छन्। केरा बिक्री गरेर वार्षिक रू छ लाख आम्दानी हुने गरेको उनले सुनाए। “राम्रो भयो भने केराको एक घारीमा सात सय देखि आठ सयसम्म कोसा हुन्छन्”, उनले भने, “एक घारीको रू चार हजार दुईसयसम्ममा बिक्री गरेको छु।” बेनी नगरपालिका–२ बगरफाँटका किसानले धान फल्ने खेतमा केरा खेती गरेका छन्। धान, गहुँ, मकैबालीको विकल्पमा यहाँका किसानले खेतका गह्रामा व्यावसायिक केरा खेती गरेर आयआर्जन गर्ने माध्यम बनाएका हुन्। अन्नबाली जस्तै धेरै मेहनत र श्रम खर्च गर्नु नपर्ने र आम्दानी पनि बढी हुने भएकाले धान फल्ने खेतमा केरा खेती गरिएको किसानले बताएका छन्। केही वर्षअघिसम्म परम्परागत खाद्यान्न खेती हुने बगरफाँट अहिले केराको बगैँचामा परिणत भएको छ। अनुकूल हावापानी, वातावरण, बजारको सुविधा र छिटो आम्दानी गर्न सकिने भएकाले व्यावसायिक केरा खेतीतर्फ आकर्षण बढेको किसान खिमबहादुर कार्कीले बताए। उनले खेतका गह्रामा पाँच सय केराका बिरुवा लगाएका छन्। उनका अनुसार तीन सय केरा घरीले उत्पादन दिन थालेका छन्। किसान दुर्गाबहादुर थापाले पनि गुडुराको धान फल्ने चार रोपनी खेतमा केराका बिरुवा लगाएका छन्। खेती गर्न झन्झटिलो हुने, कम उत्पादन हुने, खर्च बढी हुने र काम गर्ने मान्छे पनि नपाइने हुँदा केरा खेती थालिएको उनले बताए । गत वर्षको जेठमा यहाँका किसानले करिब दुई हजार केराका बिरुवा लगाएका छन्। पाकेको केरा प्रतिदर्जन रू एक सयका दरले बिक्री हुने गरेको छ। एउटै घारीबाट एक हजार कोसासम्म उत्पादन हुने गरेको किसानको भनाइ छ। – ध्रुवसागर शर्मा\रासस
ट्रकको ठक्करबाट शाखा अधिकृतको मृत्यु काठमाडौं । काठमाडौंको बल्खुमा ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । आइतबार दिउँसो साढे १२ बजे बल्खु चोकमा मालवाहक ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको ज्यान गएको हो । ज्यान गुमाउनेमा अर्घाखाँची छत्रदेव गाउँपालिका–५ चन्द्रागिरि नगरपालिका–१२ सतुंगल बस्ने ३८ वर्षीय भूपति पाण्डे रहेका छन् । उनी शाखा अधिकृत हुन् । उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित अध्यागमन विभागको कार्यालयमा कार्यरत थिए । सानेपाबाट कलंकीतर्फ जाँदै गरेको बागमती प्रदेश-०३-००१ ख १७१५ नम्बरको १२ चक्के मालवाहक गाडीले सोही दिशा जाँदै गरेको बा अअ ९८३५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । ठक्कर पछि गम्भीर घाइते भएका पाण्डेलाई नजिकैको वयोधा अस्पतालमा लगिएकोमा अस्पतालमा पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीले ४३ वर्षीय ट्रक चालक अर्जुन ढुंगानालाई पक्राउ गरेको छ ।
मध्यरातमा अर्थ मन्त्रालयमा करका दर हेरफेरको आरोप लागेका पूर्वनासुविरुद्ध दुई करोड बढीको भ्रष्टाचार मुद्दा काठमाडौं। भन्सार विभाग काठमाडौंका तत्कालीन नायब सुब्बा रघुनाथ घिमिरेविरुद्व दुई करोड १४ लाख ४६ हजार ६५७ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले आइतबार विज्ञप्ति जारी गर्दै घिमिरेविरुद्ध मुद्दा दायर भएको जानकारी दिएका हुन्। अवकाश प्राप्त आरोपित घिमिरेविरुद्ध एयरपोर्ट भन्सार, विभिन्न भन्सार कार्यालय र राजश्व अनुसन्धान विभागमा बसेर राजश्व हिनामिना गरेर करोडौं सम्पत्ति कमाएको आरोप लागेको छ। यसरी गैरकानुनी रुपमा कमाएको सम्पत्ति श्रीमती र परिवारका अन्य सदस्यको नाममा लुकाएर राखेको, विभिन्न कम्पनीमा लगानी, शेयर खरिद र जग्गा खरिदमा लगानी गरेको आयोगको विज्ञप्तिमा उल्लेख छ। घिमिरेले २०५२ कात्तिक २८ देखि २०७९ पुस १२ गतेसम्मको अनुसन्धान जाँच अवधिमा वैधानिक आय भन्दा बढी कमाएको देखिएको हो। घिमिरेसहित निजको श्रीमती शारदा गौतम, छोरीको पारिश्रमिक आय, कर्मचारी संचय कोषलगायत विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा, जग्गा बिक्री, घर बहाल यी सबैको आय पाँच करोड २५ लाख १६ हजार ३२७ रुपियाँ रहेको खुल्न गएको आयोगले जनाएको छ। कुल वैधानिक आयलाई कुल व्ययसँग तुलना गर्दा आयभन्दा दुई करोड १४ लाख ४६ हजार ६५७ रुपियाँ को वैधानिक स्रोतको पुष्टि हुन नसेकोले सार्वजनिक पद धारण गरेको कर्मचारीले अस्वभाविक रकम आर्जन गरेको देखिएको हो। आरोपितमाथि प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम कैद तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा २९ ख बमोजिम असुल उपर गरी पाउन माग दाबीसहित विशेष अदालत काठमाडौंमा आइतबार मुद्दा दर्ता भएको हो। उनलाई २०७९ जेठ १४ गते मध्यरात अर्थ मन्त्रालय पुगेर बजेटमा करका दर हेरफेरमा संलग्न भएको आरोप लागेको थियो।
तीन हप्ताका लागि कुलेखानी–फाखेल सडकखण्ड बन्द मकवानपुर। बागमती प्रदेशको राजधानी हेटौँडा र सङ्घीय राजधानी काठमाडौँ जोड्ने छोटो दूरीको भीमफेदी–कुलेखानी–फाखेल सडकखण्ड मर्मतको काम भइरहेकाले बन्द गरिएको छ। सडक निर्माण तथा स्तरोन्नतिको काम भइरहेकाले आजदेखि तीन हप्तासम्म सो मार्ग हुँदै चल्ने साना तथा ठूला सवारीसाधनका लागि यातायात सेवा बन्द गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। सो मार्ग हुँदै चल्ने सवारीसाधन भीमफेदी–मार्खु–चित्लाङ हुँदै काठमाडौँ जाने आउने गरिरहेको प्रहरीले जनाएको छ। कुलेखानी–फाखेल मार्ग बन्द रहेकाले सो क्षेत्र हुँदै यात्रा नगर्न सर्वसाधारणलाई प्रहरीले आग्रह गरेको छ।
आगामी बुधबार मनकामना केबलकार बन्द हुने काठमाडौँ। मनकामनाको केबलकार एक दिनको लागि बन्द हुने भएको छ । केबुलकारको टावर मर्मतसम्भार कार्यका लागि यही चैत २२ गते बुधबार १ दिनका लागि बन्द गर्न लागेको हो। केबलकार टावरको मर्मतसम्भार सकिएलगत्तै चैत २३ गते बिहीबारबाट केबलकार सेवा नियमित सुचारु हुर्ने कम्पनीले जनाएको छ। उक्त अवधिभरि केबलकार बटम स्टेसनमा रहेको रेस्टुरेन्ट सेवा भने यथावत् रहनेछ। कम्पनीले मनकामना केवलकारलाई नेपालकै पहिलो डिजिटल कनेक्ट सिस्टममा स्तरोन्नति गरेको छ। यसका साथै यसबाट यात्रुमा पर्न जाने असुविधाका लागि कम्पनीले क्षमा मागेको छ।
‘उत्कृष्ट कृयाशिल युवा पत्रकारिता पुरस्कार २०७९’ बाट पत्रकार नवीन गिरी सम्मानित काठमाडौँ। क्रियाशील युवा पत्रकारिता पुरस्कार २०७९ु बाट अनलाइन टिभी नेपालका अधक्ष्य नबिन गिरी सम्मानित भएका छन्। रिपोर्टर्स क्लब नेपालले आफ्नो स्थापनाको २५औं वार्षिकोत्सव (रजत महोत्सव) को अवसरमा शुक्रबार आयोजित विशेष समारोहमा गिरीलाई उक्त पुरस्कार प्रदान गरेको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल ९प्रचण्ड० ले गिरीलाई सम्मानपत्र हस्तान्तरण गरेका हुन्। बिरगंज देखि पत्रकारिता सुरु गरेका गिरी हाल आफनै संचार माध्यमा कार्यरत छन्। कला क्षेत्रमा बिशेष कलम चलाउने गिरी चलचित्र पत्रकार संघको २०७६ सालमा सदस्य पदमा अत्याधिक मतले विजय भएका थिए। केहि समय अघि भएको चलचित्र पत्रकार संघको चुनावमा उनी सचिव पदमा निर्वाचित भएका छन्। १ दशक देखि पत्रकारितामा सक्रिरहेका गिरी पत्रिका, रेडियो, टिभी, अनलाइन तथा बिभिन्न संचार माध्यमा अनुभव बटुलीसकेका छन्। पत्रकारिता आफनो क्षमता र कुशलता प्रदर्शन गर्दै आएका गिरी चलचित्र पत्रकारिताको संस्थागत बिकाश र प्रवर्द्धनमा महत्पूर्ण भूमिका खेलेको भन्दै रिपोर्टर्स क्लब नेपालले उनलाई सम्मानित गरेको हो। चलचित्र पत्रकार संघका सचिव रहेका गिरी हजरिया सामाज सेवाका स-सचिव समेत हुन्। उनले २०६७ देखि पत्रकारिता सुरु गरेका हुन्।
जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ काठमाडौँ। गोकर्णेश्वर नगरपालिका-६ बाट जुवातास खेलिरहेको अवस्थामा १२ जनालाई पक्राउ गरेको छ। नगरपालिका-६ नयाँबस्ती पहेलो पुल नजिक ४० वर्षीया सन्चिमाया वाईबाको टिनको टहरामा जुवातास खेलिरहेको अवस्थामा वाईबा समेत १२ जनालाई शनिबार राति प्रहरीले पक्राउ परेको हो। विशेष सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५९ हजार ८५ रूपैयाँ र १६ थान कौडासहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
हेटौडाबाट काठमाडौं छिर्ने दुईवटा सडक बन्द हेटौडा। मकवानपुर सदरमुकामा हेटौंडाबाट कुलेखानी हुँदै काठमाडौँ प्रवेश गर्ने छोटो दूरीका दुई सडक बन्द गरिएका छन्। चित्लाङ–चन्द्रागिरि–थानकोट सडक र कुलेखानी–सिस्नेरी–छैमले–दक्षिणकाली सडक स्तरोन्नति गरिन लागिएको भन्दै केही समयका लागि बन्द गरिएका हुन्। थाहा नगरपालिका प्रमुख विष्णु विष्टका अनुसार सडक स्तरोन्नति एवं मर्मतकार्य जारी रहेकाले अर्को सूचना नभएसम्मका लागि सडक अहिलेका लागि बन्द गरिएको हो। चित्लाङ–चन्द्रागिरि–थानकोट सडक खण्डको स्तरोन्नति भइरहेकाले प्रत्येक दिन बेलुका ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मका लागि सडक बन्द रहने जनाइएको छ । त्यस्तै कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडकखण्डअन्तर्गत ज्यामिरे– रामचन्द्र भन्ज्याङको सडक स्तरोन्नतिसहित कालोपत्र गर्ने काम भइरहेकाले सो खण्डमा सडक बन्द गरिएको हो । हरेक दिन बिहान ७ देखि साँझ ५ बजेसम्म एम्बुलेन्स, स्थानीयका सवारीसाधन र स्थानीय रुटमा चल्नेबाहेकका सवारीसाधन बाहेका अन्य सवारीका साधन सञ्चालन नगर्न आग्रह गरेको छ।
कर्मले बदलिएको नाम ‘तरकारी काका’ ढोरपाटन। घर्कँदो उमेर। सेताम्य दारी–जुँगा र कपाल फुलेको भए पनि अझै हट्टाकट्टा हुनुहुन्छ टीकाराम सापकोटा। बागलुङ नगरपालिका–४ कुँडुलेका सापकोटा बिहान उठेदेखि राति नसुतुन्जेलसम्म बारीकै धन्दामा व्यस्त छन्। कहिले आफ्नै त कहिले अरुका तरकारी फार्ममा देखिने सापकोटा उमेरले ६७ वर्ष नाघिसके। उमेरले सात दशक लाग्न थाल्नुभएको उनमा जोश र जाँगर भने २० वर्षे युवाको भन्दा कम देखिँदैन। उनी यसरी बारीमै दिन बिताउन थालेको ३५ वर्षभन्दा बढी भयो। साढे तीन दशकदेखि निरन्तर कृषि कर्ममा क्रियाशील सापकोटा अहिले पनि माटोप्रतिको माया र तरकारी उब्जाउ गर्ने काममा कमी कत्ति पनि आएको छैन। व्यावसायिकरूपमा गोलभेँडा, काउली बन्दा, सिमीलगायतका तरकारी उत्पादनमा तल्लीन उनी थुप्रै कृषकका उत्प्रेरणाका स्रोत र सारथी बनेका छन्। पानी, प्रविधिलगायतका थुप्रै सामग्रीको अभावका बीच पनि कुँडुलेमा व्यावसायिक कृषि कर्ममा खटिरहने सापकोटाको प्रेरणाबाट धेरै व्यावसायिक कृषि कर्म थालेका छन्। कृषि कर्मबाट निकै सन्तुष्ट देखिने उहाँलाई नेपाली माटोमा सुन फलाउन सकिने विश्वास छ। सामान्य परिवारका सापकोटालाई व्यावसायिक तरकारी खेती गर्नुपूर्व बिहान–बेलुकीको गर्जो टार्न गाह्रो हुन्थ्यो। ज्याला–मजदुरी र निमेक गरेर परिवार पाल्नुपथ्र्यो। तर तरकारी खेतीमा लागेपछि तीन छोरी र चार छोरालाई राम्रोसँग पढाउनुका साथै परिवार पालेर पनि करिब रु दुई करोडको जग्गा किन्न सफल भएका छन्। उनले आजको यो सफलता सहजै पाएका भने होइन। थुप्रै हन्डर र ठक्कर खाँदै यहाँसम्म आइपुगेको उनको भनाइ छ। सुरुका वर्ष व्यावसायिक तरकारी उत्पादन गर्दा बिक्री नै नभएको उनको तितो अनुभव छ। किसान सापकोटा भन्छन्, “जिन्दगीमा के काम गरिएन र, सबै काम गरियो तर, तरकारी खेतीबाट मलाई सुख र खुसी मिल्यो, विसं २०४८–४९ तिर गोलभेँडा, काउली र मसला बिक्रीका लागि बागलुङ बजारतिर लग्यौँ तर बिक्री भएन। सबै फाल्नुपर्छ कि भन्नेजस्तो लाग्यो, त्यतिबेला निकै दुःख लागेको थियो, तर पछिपछि राम्रो भयो, यहाँको माटो अत्यन्त उब्जाउ हुने खालको छ, जे लगाए पनि राम्रो फल्छ, त्यसैले यहाँको माटोमा सुन फलाउन सकिन्छ।” उनले आफ्नो दुःख सुनाउँदै भने, “अहिले मलाई धेरै सन्तुष्टि मिलेको छ, तरकारी खेती नगरेको भए मलाई सात भाइ–बहिनी छोराछोरी हुर्कान, पढाउन र परिवार चलाउन गाह्रो हुन्थ्यो, तर अहिले राम्रै ठाउँमा सात रोपनी जग्गा किन्न सफल भएँ, छोराछोरी कोही जापान छन्, कोही कहाँ छन्, तर सबैलाई राम्रो भएको छ, अब त म समस्यामा छैन, यी सबै उपलब्धि मेरो कृषि पेसाबाट नै भएको हो।” सुरुका दिनमा बारीमा धेरै काँक्रा तथा फलफूल उत्पादन भएको र बिक्री नभएपछि बजारमा निःशुल्कसमेत बाँडेको उनले सुनाए। सुरुआतीका केही समयबाहेक पेसालाई पछि फर्केर हेर्न नपरेको उनी बताउँछन्। सुरुको आर्थिक अवस्था अत्यन्त दयनीय रहेका सापकोटाले कृषि पेसाबाटै आफ्नो आर्थिक अवस्था बदल्न सफल भएका छन्। त्यो बाहेक महत्वपूर्ण उपलब्धि आज थुप्रै किसानलाई समस्या पर्दा कृषकसँगै समाधानमा लाग्दै आएका छन्। तरकारी खेतीले आर्थिक अवस्थासँगै आफ्नो परिचयसमेत बदलिएको सापकोटाको भनाइ छ। उनको कमाइबाटै अहिले आफ्ना तीन छोरा–बुहारीलाई जापान पठाएका छन्। कृषिलाई अझै व्यवस्थित गर्न भारतीय तरकारी आयातलाई निरुत्साहित गरे यहाँका कृषकले राम्रो आम्दानी गर्न सक्ने सापकाटाको भनाइ छ। त्यसका साथै कृषकलाई प्राविधिक ज्ञान दिनुपर्ने उनको माग छ। सापकोटाको कृषि कर्ममा उनको श्रीमती कौशिला सापकोटाले साथ दिँदै आएका छन्। उनीहरूले कृषि कर्मबाटै वार्षिक रु तीन लाखसम्म बचत गर्दै आएका छन्। तरकारी खेतीबाट आर्थिक अवस्था बदलिएपछि समाजले हेर्ने दृष्टिकोण बदलिएको उहाँकी श्रीमती कौशिला बताउँछन्। श्रीमान्को कडा मेहनत र लगावले गर्दा आज परिवारमा ठूलो परिवर्तन आएको उनको भनाइ छ। उनी भन्छन्, “पहिले त खान लाउनको निकै समस्या थियो, बारीमा उत्पादन भएको धान, मकैले तीन महिना खान पनि पुग्दैनथ्यो, जीउनका लागि अर्काको घरमा पनि काम गर्‍यौँ।” उनले तरकारी खेती थाल्नुभन्दा पहिले अरुको भारी बोक्ने, होटलमा काम गरेरे जीविका धानेको बताए। अहिले सामान्य खाना, लाउन र परिवार चलाउन समस्या नभएको उनले सुनाए। बूढाबूढी भए पनि दैनिक बारीमै सकेको काम गरेर उत्पादनसँग जोडिएको उनको भनाइ छ। – रासस
६ किमी सडक कालोपत्र तुलसीपुर। दाङ तुलसीपुर उपमहानगरपालिका– १२ को पुकार पसलबाट सिद्धार्थ चोकसम्म सडक कालोपत्रको काम सकिएको छ। त्यहाँ चार सय ९० मिटर सडक कालोपत्र भएको हो। त्यस्तै सोही वडाको अशोकचोकबाट सिदार्थचोकसम्मको चार सय ८० मिटर सडक पनि कालोपत्र भएको छ भने कपडादेवीबाट चौधरीगाउँसम्मको तीन सय ६० मिटर सडक कालोपत्र भएको छ। यस्तै तुलसीपुर–६ प्रगतिनगर टोलको तीन सय ६० मिटर सडक कालोपत्र भएको छ भने तुलसीपुर–५ को भुह्यार थानबाट पूर्वतर्फ गएको सडक एक सय ९० मिटर सडक कालोपत्र भएको छ। त्यस्तै तुलसीपुर–८ अस्वाराबाट हरियाली उद्यान जाने एक सय ५० मिटर सडक कालोपत्र भएको छ। गाउँ–गाउँमा यस्तै थुप्रै सडक कालोपत्र भएका छन्। चालु वर्षमा ४५ किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्यअनुसार रु पाँच करोड बजेट छुट्याएको तुलसीपुर उपमहानगरपालिकाका इञ्जीनियर पवनकुमार योगीले बताए। विकास प्राधिकरणमार्फत ती सडक कालोपत्र गरिएको हो। “सबै वडामा कालोपत्र सडक पुर्‍याउनका लागि विकास प्राधिकरणमार्फत काम भइरहेको छ”, उनले भने, “सडक कालोपत्रको काम धमाधम भइरहेको छ।” चालु वर्षको हालसम्म छ किलोमिटर सडक कालोपत्र भइसकेको छ। विभिन्न २६ सडक कालोपत्रको काम भइरहेको उनले बताए। सडक सञ्जाल नै विकासको एउटा आधार भएकाले यसको विस्तारका लागि उपमहानगरपालिका सक्रिय भएर लागेको उपप्रमुख स्यानी चौधरीले बताए। उनका अनुसार सडक गुण्स्तरीयतामा पनि उत्तिकै ध्यान दिइएको छ।
कागतीखेतीबाट रु २० लाख आम्दानी पथरी। सूर्याेदयसँगै सुरु हुन्छ रुद्रमणि न्यौपानेको दैनिकी। पातलो गाउँको बीचमा रहेको उनको कागतीका बगैँचाले गाउँकै सुन्दरता झल्काएको छ। उमेरले ४५ वर्ष टेेका उनले दुई बिघा क्षेत्रफलमा लगाएको कागती देखेरे सबैले प्रशंसा गर्दछन्। मोरङको पथरी शनिश्चरे-२ कालापानीमा रहेको पथरी कृषि फार्मबाट सन्तुष्ट छन् उनी। लामो समय विदेशमा परिश्रम गरेकार्नु न्यौपाने आर्थिक अवस्था परिवर्तन नभएपछि चार वर्षअघि कृषि पेसामा फर्किएका थिए। उनलाई कागतीले यतिबेला राम्रो प्रतिफल दिन थालेको छ। दुई बिघा क्षेत्रफल भाडामा लिएर कागतीखेतीसँगै नगदे बाली गर्दै आएका छन्। यतिबेला उनको बगानमा लटरम्मै कागती फुलेका र फलेका छन्। बगानमा एक हजार दुई सय कागतीका बोट छन। फार्मले तीन जनालाई रोजगारी दिएको छ। बजारको भाउअनुुसार फल बेच्नुपर्ने हुँदा कागतीको यकिन मूल्य भने छैन। फार्ममा दाना प्रतिगोटा रु तीन र बिरुवा प्रतिगोट रु ८० का दरले बिक्री हुँदै आएको छ। उनी भन्छन्,“चार वर्षअघि रु ३२ लाख लगानीमो कागतीखेती सुरुआत गरेँ। अहिले उखु, साग, केराउ, प्याज, लसुनलगायतका नगदे बाली छन्।” बगानमा वार्षिक रु सात लाख दाना र १० हजारभन्दा बढीको बिरुवा उत्पादन हुने गरेको छ। कागती र बिरुवाले राम्रो उत्पादन दिन थालेपछि धेरै टाढाका कृषकले पनि खरिद गर्ने गरेका छन्। बिरुवा बिक्रीबाट रु आठ लाखसम्म आम्दानी हुने गरेको छ। कागतीको दाना र बिरुवाबाट वार्षिक रु २० लाखमाथि आम्दानी हुने गरेकोे कृषक न्यौपाने बताउँछन्। कागतीका बोट हुर्किँदै जाँदा क्याङ्गस र फङ्मसजस्ता रोगले निकै सताउने गरेको उनले बताए। कृषि प्राविधिकिसमेत रहेका न्यौपाने रोगले सताएमा बोटले राम्रो उत्पादन दिन नसक्ने बताउँछन्। उनी भन्छन्, “ग्रामीण भेगका यस्ता फार्मले राज्यबाट अनुदान पाउन निकै झन्झट ब्यहोर्नुपरेको छ।” रासस
आजको मौसमः कोशी र गण्डकी प्रदेशमा मेघ गर्जनसहित पानी पर्ने संभावना काठमाडौं। हाल देशमा पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। कोशी प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ। उता राति भने देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ। देशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ र हावाहुरीसहित हल्का र क्षणिक वर्षाको सम्भावना हुनाले मेघगर्जन र चट्याङ तथा हावाहुरीबाट हुन सक्ने क्षति बाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
लागुऔषध सेवन गरी सवारी चलाउने चार चालक नियन्त्रणमा काठमाडौं। ट्राफिक प्रहरीले काठमाडौँको कोटेश्वरबाट लागुऔषध सेवन गरी सवारीसाधन चलाउने चार जनालाई नियन्त्रणमा लिएको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कोटेश्वर क्षेत्रमा गरेको विशेष चेकिङका क्रममा लागुऔषध सेवन गरी सवारी साधन चलाउने चार चालकलाई गए राति नियन्त्रणमा लिएको हो। ट्राफिक प्रहरीेले बा ५ ख ८४५५ नम्बरको टिपर चालक दोलखाका २४ वर्षीय कुमार कार्की, बा ४ ख ७३४७ नम्बरको टिपरका चालक काभ्रेपलाञ्चोकका ३३ वर्षीय विजय तामाङ, बा १ ज ८९६१ नम्बरको ट्याक्सीका चालक सिन्धुलीका २३ वर्षीय ईन्द्रबहादुर बस्नेत र बागमती प्रदेश(०३(००१ ख १००४ नम्बरको लहरीका चालक नुवाकोटका २६ वर्षीय अर्जुन लामालाई पक्राउ गरेको हो। ट्राफिक प्रहरी, नेपाल प्रहरी अस्पताल, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग कोटेश्वरको संयुक्त टोलीले गए राति १० बजेदेखि १२ बजेसम्म २१ सवारी साधनमा गरेको जाँचका क्रममा चार चालकलाई नियन्त्रणमा लिएको काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए। नियन्त्रणमा लिएका चारै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त बानेश्वर पठाइएको प्रवक्ता भट्टले बताए। मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने चालकलाई लामो समयदेखि नै ट्राफिक प्रहरीले कारबाही गर्दै आए पनि पछिल्लो समय लागुऔषध सेवन गरेर सवारी साधन चलाउने चालक भेटिन थालेपछि लागुऔषध जाँच अभियानलाई तीव्रता दिइएको सो कार्यालयले जनाएको छ।
एक सय १० जनाले गरे रक्तदान कास्की । पोखरास्थित रेडियो अन्नपूर्णले शनिबार आयोजना गरेको २१औँ बहृत् रक्तदान कार्यक्रममा एक सय १० पिन्ट रगत सङ्कलन भएको छ । रक्तदानप्रति नयाँ रक्तदातालाई प्रेरित गर्ने उद्देश्यले आयोजित सो कार्यक्रममा ९४ पुरुष र १६ महिलाले रक्तदान गरेका हुन् । तीमध्ये ३० जना नयाँ रक्तदाता रहेको कार्यक्रम संयोजक कृष्ण सुवेदीले जानकारी दिए । रेडियो अन्नपूर्णले आफ्नो स्थापनाकालदेखि नै सामाजिक उत्तरदायित्वअन्तर्गत बर्सेनि रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ । रक्तदान कार्यक्रमका लागि रक्तसञ्चार केन्द्र पोखरा र फिस्टेल नर्सिङले प्राविधिक सहयोग उपलब्ध गराएको थियो । कार्यक्रममा नेपाल बैंक लिमिटेड, पोखरा इन्टरनेट प्रालि, ब्रिज सिमेन्ट प्रालिलगायत सामाजिक तथा व्यावसायिक सङ्घसंस्थाको सहकार्य रहेको रेडियोका स्टेशन म्यानेजर सञ्जयकुमार मल्लले बताए । उनले मानिसहरूको भावनामा सकारात्मक परिवर्तन ल्याउन रेडियोले रक्तदान कार्यक्रमलाई अभियानकै रूपमा सञ्चालन गर्दै आएको उल्लेख गरे । सोही अवसरमा आत्महत्या रोकथामसम्बन्धी कोशिस नेपालले आयोजना गरेको टिकटक प्रतियोगिताका विजेता अनिशा अधिकारी, लक्ष्मी खत्री र प्रतिमा पौडेललाई पुरस्कार प्रदान गरिएको थियो ।
सुन्दरीजल-जोरपाटी मेलम्चीको पानी ल्याउन थप पाइप बिछ्याइँदै काठमाडौं। मेलम्ची खानेपानी आयोजनाको पानी उपत्यकामा ल्याउनका लागि सुन्दरीजलबाट जोरपाटी खण्डमा आवश्यक पर्ने थप पाइप बिछ्याउन सुरु गरिएको छ। सुन्दरीजलबाट जोरपाटीसम्म ११ किमी लम्बाइमा हाल रहेको पाइप पर्याप्त नभएकाले थप पाइप बिछ्याउन लागिएको हो । मेलम्चीको पानी पहिले सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा जान्छ। केन्द्रमा प्रशोधन भएपछि यही बाटो भएरै उपत्यकाका अरु स्थानमा जान्छ। अहिले भइरहेको पाइपबाट हाल पानी ल्याए पनि भविष्यमा थप पानी ल्याउन थप पाइप आवश्यक रहेको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ। मेलम्ची खानेपानी आयोजना सम्पन्न हुँदा दैनिक ५१ करोड लिटर पानी उपत्यका आउनेछ। दैनिक ५१ करोड पानी आउँदा त्यसका लागि आवश्यक पाइप बिछ्याउन लागिएको निर्देशनालयका सूचना अधिकारी चन्द्रकुमार पन श्रेष्ठले जानकारी दिए। सुन्दरीजलबाट काम सुरु गरेर चावहिलतर्फ गर्दै जाने योजना रहेको उनले बताए। एक हजार आठ सय र एक हजार छ सय मिलीमिटर (एमएम)को जिआइ पाइप बिछ्याउन लागिएको हो। पहिले बिछ्याइएको पाइपको क्षमता २२ करोड लिटर रहेकामा अब २८ करोडको बिछ्याउन लागिएको निर्देशनालयले जनाएको छ। अहिले हिउँदमा दैनिक १७ करोड लिटर पानी काठमाडौँ उपत्यका ल्याइएको छ। अहिले पनि वर्षामा दैनिक ५१ करोड लिटरसम्म पानी ल्याउन सकिने सम्भावना रहेको छ। उनले भने, “क्षमताअनुसारको पानी ल्याउनका लागि थप पाइप आवश्यक भएको हो।” यहाँ पाइप बिछ्याउने काम दुई वर्षमा सकाउनुपर्ने सूचना अधिकारी श्रेष्ठले बताए। मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणमा याङ्ग्री र लार्के नदीको पानी ल्याउँदा अहिले भइरहेको पाइप पर्याप्त नहुने उनले बताए। सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा रहेको आयोजनास्थलमा विभिन्न संरचनामा थप क्षति नपुगोस् भनेर सरकारले अहिले वर्षाको समयमा मेलम्चीको पानी ल्याएको छैन। सरकारले पछिल्लोपटक गत मङ्सिरबाट काठमाडौँ उपत्यकामा पानी पुनः वितरण सुरु गरेको छ। वर्षा सुरु नहुँदासम्म पानी नियमित ल्याउन सकिने भए पनि वर्षाको समयमा नसकिने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ।
बेमौसमी हिमपातले जनजीवन असहज ताप्लेजुङ। ताप्लेजुङमा विगतका वर्षहरूमा फागुन अन्तिमदेखि नै हिउँ पर्ने क्रम क्रमशः घट्दै जान्थ्यो। पुसदेखि फागुनसम्म हिमपातले हिमाल र उच्च पहाडी क्षेत्रका टाकुरा सेताम्मे हुने गर्थे। त्यसपछि क्रमशः हिउँ पर्ने क्रम न्यून हुँदै चैतदेखि मौसम न्यानो र खुला हुन्थ्यो। तर यस वर्ष त्यसको ठीकविपरीत भएको छ। पुस–माघमा हिउँ नपरेर चैत लागेदेखि सामान्य वर्षासँगै हिमपात भइरहेको छ। पछिल्लो समय दैनिकजसो साँझ, बेलुका वर्षा भइरहेको छ भने उच्च क्षेत्रमा हिमपात भइरहेको छ। शुक्रबार बेलुका तीन हजार सात सय ९४ मिटरको उचाइमा पर्ने पाथीभरासहितका उच्च क्षेत्रमा बाक्लो हिमपात भएको छ। यसअघि सामान्य हिमपात भए पनि यति धेरै हिउँ खसेको थिएन। साँझ परेपछि वर्षा हुने र हिउँ पर्ने क्रम केही दिनदेखि चलिरहेको हिमाली बस्ती घुन्साका दीपक शेर्पाले बताए। यता ओलाङचुङगोलामा समेत केही दिनदेखि सामान्य वर्षासहित हिमपात भइरहेको छ। यो वर्ष ढिलो गरेर हिमपात भए पनि विगतका वर्षमा जस्तो बाक्लो हिमपात भने भएको छैन। “विगतमा यतिबेलाको जस्तो चैतमा हिउँ पर्दैनथ्यो, यो वर्ष हिउँ पर्ने बेला पुस–माघमा मौसम खुला भयो, हिजोआज वर्षा र हिमपात भइरहेको छ”, शेर्पाले भने। यो वर्ष शुक्रबार पहिलो पटक केहि उच्च क्षेत्रका गाउँमा समेत हिउँ परेको छ। सिरीजङ्घा गाउँपालिकामा पर्ने याम्फुदिन, मामांखे, मिक्वाखोला गाउँपालिकाको पापुङ लगायतका गाउँमा हिमपात भएको स्थानीयले बताए। हिउँदको समयमा पानी नपर्दा हिउँदे बालीनाली फस्टाउन नसके पनि पछिल्लो समयमा परेको वर्षाले भने किसानलाई सामान्य राहत मिलेको छ। तर तल्लो क्षेत्रसम्म नै हिउँ पर्दा भने अलैँची बालीमा क्षति हुन्छ। “अलैँची, मकै, जौँ, गहुँ, तरकारी र फलफूल खेतीका लागि हिउँदमै वर्षा हुनुपथ्र्यो, यो वर्ष हिउँदमा वर्षा भएन तैपनि आजभोलिको वर्षाले सामान्य राहत मिलेको छ”, फावाखोलाका कमल विष्टले भने । तर यतिबेला पर्ने हिउँले अलैँची खेतीलाई भने असर गर्ने उनको भनाइ छ। बाक्लो हिउँले अलैँचीका बोट ढल्ने, हिमपातपछि चर्को घाम लाग्दा बोट सुक्नेजस्ता समस्या देखिने गरेको उनले बताए। ताप्लेजुङमा यो वर्ष फागुन मध्यतिर फाट्टफुट्ट वर्षा र हिमपात भएको थियो। त्यसयता निकै दिनपछि चैत लाग्दादेखि सामान्यतया वर्षा भइरहेको छ। उच्च क्षेत्रमा भएको बेमौसमी हिमपातले आलुखेतीमा असर पुर्‍याएको छ। मानव बसोबास रहेका यहाँका हिमाली गाउँ घुन्सा, याङ्मा, ग्याब्ला, फले, ओलाङचुङगोलालगायतमा यतिबेला आलु रोपिसकिएको छ। केही दिनअघि रोपिएको आलु नउर्मिदै हिउँ परेकाले बीउ कुहिन सक्ने सम्भावना भएको स्थानीयले बताएका छन्। “हिजोआज भर्खरै आलु रोपिसकिएको छ, आलु उर्मिने बेलामा निरन्तर हिउँ प¥यो भने माटोभित्रै बीउ वा बीउको अङ्कुरण कुहिने सम्भावना हुन्छ”, घुन्साका दीपक शेर्पाले भने। यहाँका हिमाली बस्ती तथा गाउँको मुख्य खेती भनेकै आलु हो। आलुखेतीबाटै स्थानीयवासीले आम्दानी लिन्छन्। आलु फलाएर तल्लो क्षेत्रका बासिन्दासँग अन्न साटेर लैजाने चलन छ। उच्च क्षेत्रमा अन्नबाली नहुने भएकाले औलका मानिससँग आलुसँग अन्न साटेर लैजाने गरिएको हो। यता बेमौसमी हिमपातले बालीनालीमा मात्रै नभई वन्यजन्तु र बोटबिरुवामा समेत असर पुग्ने बताइन्छ। समयमा हिउँ नपर्दा चिसोमा अभ्यस्त बोटबिरुवा र वन्यजन्तुमा असर पुग्छ भने न्यानो मौसम हुने सिजनमा हिउँ पर्दा पनि बोटबिरुवा र वन्यजन्तुलाई असर पुग्छ। वसन्त ऋतुमा हुने बाक्लो हिमपातले फूल फुलेका र पालुवा फेरेका बोटबिरुवालाई वृद्धि विकास हुनबाट रोक्छ। यस्तै न्यानो खोजिरहेका जीवजनावर तथा वन्यजन्तुलाई समेत एक्कासी पर्ने हिमपातले कठिनाइ हुने गरेको स्थानीयवासीले बताएका छन्। बेमौसमी हिमपातले चिसो बढेसँगै उच्च क्षेत्रका बासिन्दालाई समेत असहज भएको स्थानीयले बताएका छन्। केही दिनअघि न्यानो मौसम सुरु भएर पशुचौपायासहित उच्च गोठ सार्दै लगेका पशुपालकले समेत समस्या भएको बताए। केही न्यानो महसुस गरेर माथिल्लो भेगमा गोठ सारेपछि भएको हिमपातले असर गरेको भेडापालक गोपाल विष्टले बताए। यस्तै वर्षा र हिमपातले हिमाल हेर्न, आरोहण गर्न आएका पर्यटकलाई समेत असर पुर्‍याउने पर्यटन व्यवसायीले बताएका छन्। –सन्तोष पुर्कुटी\रासस
सरकार र मिटरब्याजी पीडितबीच ५ बुँदे सहमति, आन्दोलन फिर्ता काठमाडौं। सरकार र आन्दोलनरत मिटरब्याजी पीडितबीच ५ बुँदे सहमति भएको छ। पाँच बुँदे सहमतिसँगै मिटरब्याज विरुद्धको संघर्ष समितिले गर्दै आएका आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु फिर्ता लिने सहमति भएको छ। ससहसचिव प्रदीपकुमार कोइरालासहितको सरकारी वार्ता टोली र संघर्षसमितिका तर्फबाट मनोज पासवान संयोजक रहेको पीडितहरुको वार्ता टोलीबीच मन्त्रिपरिषले जाँचबुझ आयोग ऐन, २०२६ अनुसार आयोग गठन गर्न सिफारिस गर्ने सहमति भएको हो। सहमतिमा मिटरब्याज अपराध नियन्त्रण सिफारिस कार्यदलको मिति २०७२-०५-२७ को प्रतिवेदनमा उल्लिखित सिफारिसहरु शीघ्र एवं प्रभावकारी कार्यान्वयनको लागि सम्बद्ध निकायसँग आवश्यक समन्वय र सहजीकरण गर्ने भनिएको छ। यस्ता छन् सहमतिका बुँदा १. मिटरब्याज अपराध नियन्त्रण सिफारिस कार्यदलको मिति २०७२-०५-२७ को प्रतिवेदनमा उल्लिखित सिफारिसहरु शीघ्र एवं प्रभावकारी कार्यान्वयनको लागि सम्बद्ध निकायसँग आवश्यक समन्वय र सहजीकरण गर्ने। २. मिटरब्याजीहरुले निरक्षर, गरिब तथा आर्थिक रुपले अप्ठ्यारो परिस्थितिमा रहेका व्यक्तिहरूसँग उच्च ब्याजदरमा ऋण असुल्ने, वास्तविक लेनदेनभन्दा बढीको तमसुक\कागजात बनाउने, ऋणीको जायजेथा आफ्नो कब्जामा लिने तथा ऋणको दुष्चक्रमा फसाई विभिन्न ढंगले शोषण समेत गर्ने गरेको गुनासो रहेकोले मिटरव्याज पीडितका समस्या सम्बोधनको लागि यो सहमति भए पश्चात बस्ने नेपाल सरकार, मन्त्रिपरिषद्को पहिलो बैठकबाट जाँचबुझ आयोग ऐन, २०२६ बमोजिमको आयोग गठन गर्न नेपाल सरकार समक्ष सिफारिस गर्ने। ३. मिटरव्याज पीडितका नियमित रुपमा आउने उजुरी\गुनासोलाई सम्बोधनको लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्लास्थित नेपाल प्रहरी, सरकारी वकिल, मालपोत, नापी कार्यालयका प्रमुख, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि र मिटरव्याज पीडितको प्रतिनिधि समेत रहने गरी जिल्लास्तरीय समन्वय\सहजीकरण समिति गठन गर्न नेपाल सरकार समक्ष सिफारिस गर्ने। उक्त समितिले बुँदा नं. २ बमोजिम गठन हुने आयोगको कामलाई सहयोग र सहजीकरण गर्ने, पीडितबाट उजुरी तथा गुनासो संकलन गर्ने, प्रमाण जुटाउन सहयोग गर्ने, निःशुल्क कानूनी सहायता तथा सचेतनाको लागि सहजीकरण गर्ने। ४. अनुचित लेनदेन (मिटरव्याज) सम्बन्धी कार्यलाई कसूर कायम गर्ने गरी सम्बन्धित कानूनमा संशोधन प्रक्रिया अगाडि बढेकोले उक्त संशोधन प्रक्रियालाई शीघ्र निष्कर्षमा पुन्याउन नेपाल सरकारलाई अनुरोध गर्ने। ५. बुँदा नं. २ बमोजिमको आयोग गठनको निर्णय भएसँगै मिटरब्याज विरुद्धको संघर्ष समिति, नेपालले गर्दै आएका आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु फिर्ता लिने।
सर्लाहीमा लागूऔषधसहित शिक्षक पक्राउ सर्लाही । सर्लाहीमा लागूऔषधसहित शिक्षक पक्राउ परेका छन् । ईश्वरपुर नगरपालिका-१५ मा रहेको राजदेवी बोडिङ स्कुलका शिक्षक राजा हुसेन विद्यालय परिसर भित्रबाटै लागूऔषधसहित पक्राउ परेका हुन् । सोही विद्यालयमा कार्यरत अर्का शिक्षकसंग झै–झगडा तथा विवाद गर्न थालेपछि तत्कालै पुगेको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको थियो ।शरीरमा तलासी लिँदा उनीबाट नाइट्राभेट–१२ ट्याब्लेट, लागूऔषध गाँजा बरामद गरेको हो ।
दुर्घटनामा बुबाको मृत्यु, छोरा घाइते दमौली। तनहुँमा ट्र्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। भानु नगरपालिका–२ भकुन्थोकस्थित डुम्रे बेँसीसहर सडकखण्ड जोड्ने भित्री सडकमा बा ०३–००१ त २२६ नंको ट्र्याक्टर दुर्घटना हुँदा सोही ठाउँ बस्ने ४० वर्षीय ईश्वर अधिकारीको मृत्यु भएको हो। दुर्घटनामा अधिकारीका छोरासहित दुईजना घाइते भएका छन्। दुर्घटनामा घाइते भएका उनको उपचारका क्रममा चितवनस्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको प्रहरी निरीक्षक भानु शर्माले जानकारी दिए। दुर्घटनामा मृतक अधिकारीका छोरा १७ वर्षीय समिर तथा ३९ वर्षीय दीपक नेपाली घाइते भएका छन्। दुवैको उपचार भइरहेको छ।
लागुऔषध कारोबारको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै नेपाल, अफ्रिकादेखि नेपालसम्म ओसारपसार काठमाडौं । पछिल्लो पटक अफ्रिकादेखि नेपालसम्म लागुऔषध ओसारपसार बढ्दै गएको छ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले पछिल्लो एक वर्षका घट्नाक्रमलाई हेर्ने हो भने करोडौ मूल्यमा कारोवार हुने लागुऔषध कोकिन तस्करी हुन थालेको तथ्यले ओसार पसार बढेको देखिन्छ । पछिल्लो पटक चैत १६ गते करौडौं मूल्य पर्ने प्रतिबन्धित लागु औषध कोकिन बरामद भएको थियो । फल्स बटम बनाएर लेडिज ब्यागभित्र करिब ८ केजी कोकिन राखेर काठमाडौ आएका दुई महिला पक्राउ परे । एउटा लगेजमा २ किलो ८ सय ग्राम र अर्कोमा ५ केजी कोकिन लुकाएका रहेछन् उनीहरुले। पाँच देशको विमानस्थल पार गर्दा पनि उनीहरूमाथि सुरक्षा निकायको ध्यान गएन । तर, नेपालबाट भारत उड्न लागे, उनीहरू पक्राउ परे । लागु औषध नियन्त्रण ब्युरोको टोलीले उनीहरूलाई पक्राउ गर्‍याे। पक्राउ पर्नेमा ४५ वर्षीया भारतीय महिला भनल्वामी र २९ वर्षीया इस्तेर लालहालिम्पुई रहेका थिए । उनीहरुले इथियोपिया, गिनी, मोरोक्को, कतार र नेपालसम्म यात्रा गरेका थिए । ३ भदौ २०७८ मा ३० वर्षीय दक्षिण अफ्रिकी नागरिक श्रृली गामा नेपालमा पक्राउ परिन् । उनी २ भदौमा दक्षिण अफ्रिकाको केपटाउन विमानस्थल प्रयोग गरेर कतारको दोहाहुँदै नेपाल आइपुगेकी थिइन् । त्रिभुवन विमानस्थल पार गरेर सिधै ट्याक्सी चढेर कमलादीस्थित होटल पुगेकी गामा १९ भदौमा फर्किने गरेर दुई तर्फी टिकट काटेर भिजिट भिसामा नेपाल आएकी थिइन् । उनले ल्याएको लगेजको भित्री भागमा फल्स बटन बनाएर दुई केजी ९६६ ग्राम कोकिनसहित उनी ब्युरो टोलीको फन्दामा परेकी थिइन् । ९ दिनसम्म गामालाई आफैँसँग राखेर कोभर्ट अपरेसन चलाएको ब्युरोले त्यही बेला थप दुई जनालाई समेत नियन्त्रणमा लिएको थियो । उनीसँगै तान्जानियाका २६ वर्षीया जर्टड लिओनार्ड किमारो र भारत बेङ्लोरका ३३ वर्षीय विजय सिंहलाई पक्राउ गर्न प्रहरी सफल भएको थियो । त्यसैगरी गत जेठ २९ गते साँझ ५ बजेर ५५ मिनेटमा फ्लाइट दुबईको जहाज दुबईबाट आएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भयो । जहाजमा आएकी एक अफ्रिकन महिलातिर नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीको ध्यान गयो । ती थिइन्, दक्षिण अफ्रिकी नागरिक ४६ वर्षीया मुरियल क्वेडुकबाजी थेम्बेनी साम्बा । उनी आफ्नो मुलुक दक्षिण अफ्रिकाबाट दुबई हुँदै नेपाल आएकी थिइन् । उनी एक्लै आएकी थिइनन, उनीसँग अर्की दक्षिण अफ्रिकाकै २९ सिब्सी थान्डेकिले आएकी थिइन् । उनी भने पहिलोपटक नेपाल आएकी थिइन् । उनीहरुको साथमा थियो लागुऔषध कोकिन र हेरोइन । त्यतिबेला उनीहरूको साथबाट प्रहरीले २ किलो कोकिनसँगै १६ किलो हेरोइन बरामद गर्यो । प्रहरीको सक्रियताले धेरै ठूलो परिणाममा लागुऔषध बरामद गर्न सफल भएको जनाएको छ । लागुऔषध नियन्त्रण व्यूरोका प्रमुख एसएसपी विकास खनालका अनुसार प्रहरीले पछ्याउदा पछ्याउदै कतिपय कारोबारीहरु उम्कने गरेका छन् । तर प्रहरीले नेपाललाई ट्रान्जिट बनाउन खोज्नेहरुलाई भने छाडेको छैन । ‘प्रहरीको आँखा छलेर कारोबार भएको भए थाह भएन नत्र अहिलेको अवस्थामा प्रहरीको सक्रियताले नै यतिधेरै परिणामको लागुऔषध बरामद गर्न सफल भएको हो । लागुऔषध नियन्त्रण ब्युरोका निमित्त प्रमुख खनालका अनुसार यति ठूलो मात्रामा नभए पनि एक वर्षको अवधिभित्रै दुईवटा अन्य घटना यस्तै प्रकृतिका थिए । यसैगरी दक्षिण अफ्रिका हुँदै दुबई र दुबई हुँदै काठमाडौं हेरोइनसहित आएका दक्षिण अफ्रिकी महिला पक्राउ परेका थिए । ‘कतिपय भारतीय पनि पक्राउ पर्छन, तर धेरैजसो अफ्रिकाबाटै लागुऔषध बोकेर भरियाका रुपमा आउने पनि पक्राउ पर्छन’, एसएसपी खनालले भने । उनका अनुसार गत वर्षको वैशाखको ३ गते साउथ अफ्रिकाको जोहानेसबर्गबाट कतारको दोहा हुँदै काठमाडौं झरेकी अफ्रिकी देश जाम्बियाकी कपुतुला असिमबर्ग ७ केजी हेरोइनसहित काठमाडौं झरेकी थिइन् । उनले ल्याएको हेरोइन लैजान भारतबाट आएकी लालनुपुईसहित दुवैलाई ब्युरोले पक्राउ गरेको थियो । यी घटनाले विश्वव्यापी हुने अवैध लागुऔषध कारोबारको ‘ट्रान्जिट प्वाइन्ट’ का रूपमा नेपालको बाटो प्रयोग हुँदै गएकोतर्फ संकेत गरेको सुरक्षा अधिकारीहरुको दाबी छ । विगतका यी घटनाले त्यतिबेला नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बाटो प्रयोग भएको कोकिन र हेरोइन भारततर्फ जान लागेको प्रस्ट देखाएको छ । लागुऔषध नियन्त्रण ब्युरोका अनुसार यसपटक भित्रिएको कोकिन र हिरोइनको परिणाम नेपालका लागि भने हुँदै होइन । त्यो भारतकै बाटो भएर तेस्रो मुलुकतर्फ जानका लागि भित्रिएको भएपनि अन्य मुलुकको दाँजोमा नेपालका सुरक्षा अधिकारीले होसियारीपूर्वक काम गर्दा सो परिणाममा लागुऔषध बरामद भएको प्रहरीको दावी छ । प्रकाउ पर्नेमा भारतीय, क्यानेडियन, फ्रान्सेली र चिनीयाँ लगायत देशका नागरिक रहे पनि भारतीयको संख्या धेरै रहेको प्रहरीको दावी छ । ‘विदेशबाट नेपाल भित्रिने लागुऔषधको भरियाका रुपमा तेस्रो मुलुककै नागरिक धेरै पक्राउ पर्ने गरेका छन्’, एसएसपी खनालले भने । उनका अनुसार क्यानेडियन, फ्रान्सेली र थाई नागरिकहरु पक्राउ पर्ने गरेका छन् । उनीहरुले नेपालकै लागि भनेर त्यो लागुऔषध ल्याउने नगरेको र यहाँबाट तेस्रो मुलुक पठाउने गरेको पनि उनको दावी छ । ‘अघिल्ला घटनाले भारत नै जान लागेको देखाएको थियो । यसपटकको पनि नेपालकै लागि आएको हुँदै होइन । नेपालमा यति ठूलो मात्रामा हेरोइनका प्रयोगकर्ता नै छैनन, तेस्रो मुलुकलाई ट्रार्गेट गरेको हुनुपर्छ’, एसएसपी खनालले भने । प्रहरीका अनुसार सीमापार अवैध लागुऔषध कारोबारका लागि अन्तर्राष्ट्रिय स्तरमा उत्पादक र बजारका प्रचलित क्षेत्र छन् । उत्पादन क्षेत्रबाट बजार क्षेत्रमा पुग्न अवैध रूपमा बाटो प्रयोग गर्ने गरिन्छस जसका बीचमा नेपाल र भारत पर्छन् । लागुऔषधमा अफिमबाट हेरोइन बन्छ । विश्वमा अफिमको खेती सबैभन्दा बढी पाकिस्तान, अफगानिस्तान र इरानमा हुन्छ । यी तीन देशलाई ‘गोल्डेन क्रिसेन्ट’ भनेर लागुऔषधको दुनियाँमा चिनिन्छ । यस्तै कोकिन दक्षिण अफ्रिका, बोलिभिया, पेरू, मेक्सिको र ब्राजिलमा बढी उत्पादन हुन्छ । यो कोका वनस्पतिबाट बन्छ । यी देशमा उत्पादन भएका लागुऔषध पूर्वीएसियाका बर्मा, लाओस र भियतनाममा बढी प्रयोग हुन्छ । यसलाई लागुऔषध प्रयोगकर्ताहरूको ‘गोल्डेन ट्रेंगल’ भनेर चिनिन्छ । लागुऔषधका प्रयोगकर्ता विश्वभर नै छन्, तर सबैभन्दा बढी प्रयोग यी तीन देशमा हुने भएकाले गोल्डेन ट्रेंगल नाम दिइएको हो । लागुऔषध कारोबार विश्वभर अवैध छ, तर अवैध कारोबार भए पनि उत्पादकबाट उपभोक्तासम्म पुर्‍याउन ठूलै जोखिम उठाउने जमात छ । त्यही जमातले अहिले नेपालको बाटो रोजेको प्रहरीको दाबी छ ।
दोलखाको सुरी केन्द्रबिन्दु भएर भूकम्प काठमाडौं । दोलखाको सुरी केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार दोलखाको सुरी केन्द्रबिन्दु भएर आज बिहान ११ बजेर २७ मिनेट जाँदा पाँच दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्पको धक्का दोलखा, ओखलढुङ्गा, रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट र काठमाडौँ उपत्यकामा समेत महसुस गरिएको थियो । पछिल्लो समय नेपालको पूर्व तथा पश्चिम क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जानेक्रम बढेको छ । यसअघि गत चैत १५ गते ताप्लेजुङको स्याओ केन्द्रबिन्दु भएर चार दशमलव छ रेक्टर स्केलको भूकम्प गएको थियो ।
टरिगाउँ विमानस्थल : पहिलेकै धावनमार्ग विस्तारको तयारी तुलसीपुर। दाङको तुलसीपुर–१२ स्थित टरिगाउँ विमानस्थल विस्तारका लागि पहिलो विकल्प छनोट गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न चार विकल्प दिएर विमानस्थल विस्तार गर्न सकिने गरी विस्तृत परियोजा प्रतिवेदन सार्वजनिक गरेको थियो। तीमध्ये पहिलो विकल्पमा काम अगाडि बढाउन थालिएको तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले बताइन्। ‘क्यानले चार वटा विकल्प दिएको थियो’, उनले भने, ‘तीमध्ये हामीले पहिलो विकल्प रोजेर पठएका छौं।’ पहिलो विकल्पअनुसार पुरानै धावनमार्गलाई बढाउने गरी तयारी गरिएको उनको भनाइ छ। हालको सात सय ५० मिटर धावनमार्ग बढाएर एक हजार दुई सय ३० मिटर लम्बाइ बनाउने तयारी छ। उपमहानगरद्वारा गठित टरिगाउँ एयरपोर्ट विस्तार सहयोग समितिका संयोजक चौधरीले सोहीस्तरको विमान बनाउन ५७ बिघा जग्गा चाहिने जानकारी दिइन्। विमानस्थलको ३९ बिघा जग्गा छ। बाँकी सामुदायिक वनको १२ बिघा, अधिग्रहण एक दशमलव दुई बिघा र सार्वजनिक जग्गा चार दशमलव आठ बिघा लैजानुपर्छ। विमानस्थल बनाउँदा रु छ अर्ब १५ करोड ९१ लाख ५४ हजार आठ सय लागत अनुमान गरिएको छ । सोहीअनुसार ‘फाइल’ सम्बन्धित निकायमा पठाइसकेको उनले बताइन् । आगामी वर्षको बजेटमा त्यो कुरा उल्लेख हुने गरी लागेको उनले बताइन्। सोही विकल्पअनुसार फुटपाथ तथा संरचना निर्माणको कामलाई दुई अर्ब ७६ करोड ५० लाख ९४ हजार आठ सय ६०, भवनलगायतका सामग्रीलाई तीन अर्ब १३ करोड ४२ लाख ४० हजार, विविध कामका लागि १५ करोड ७३ लाख २० हजार र जग्गा अधिग्रहण तथा भवन निर्माणका लागि १० करोड २५ लाख लागत अनुमान गरिएको छ। यो विकल्पअनुसार अहिले रहेका घर फाल्न पर्दैन। मन्दिर क्षेत्रको केही जग्गा प्रयोग हुनेछ। यसरी विमानस्थल बनाउँदा एकातिरबाट मात्रै अवतरण र उडान गर्नुपर्ने हुन्छ। यसमा रातको समयमा र कम ‘भिजिविलिटी’ हुँदा अवतरण गर्नसक्ने अवस्था रहँदैन। रातमा हवाई अवतरण गर्न थप चार सय ५० मिटर जमिन चाहिन्छ। यो डिजाइनअनुसार काम गरेमा पाँच वर्षमा विमानस्थल बन्नेछ। यसमा ‘आइई’ र ‘इआइए’ गर्न दुई वर्ष लाग्छ। साथै जग्गा अधिग्रहण गरेपछि तीन वर्ष लाग्छ। टरिगाउँ विमानस्थलमा विसं २०११ देखि २०४२ सालसम्म नियमितरुपमा विमान सञ्चालनमा भएको हो। त्यतिबेला सीधा दाङ काठमाडौँ जाने यातायातको अर्को विकल्प थिएन। राप्ती नदीमा पुल निर्माण भइसकेको थिएन। बुटवलस्थित तिनाउमा पनि पुल थिएन। यात्रु रुपैडिया र भैरहवा भएर भारतीय भूमि हुँदै विराटनगर वा काठमाडौँ जानुपर्ने परिस्थिति थियो। केही समय अवरोध भए पनि जसोतसो २०७० सम्म विमान सञ्चालनमा आएको थियो। त्यसपछि टरिगाउँ विमानस्थलको कालोपत्रेको लागि विमान अवरुद्ध बन्यो। विमान कालोपत्रे भएपछि तारा एयरले पहिलोपटक दाङ र रुुकममा एकै दिन परीक्षण उडान भरेको थियो। त्यसपछि रुकुममा विमान नियमित भए पनि त्यसको झन्डै एक वर्षको अन्तरालमा मात्रै ०७२ जेठ १४ देखि टरिगाउँ विमानस्थलबाट गोमा एयरले विमान सेवा सुरु गरेपनि एक वर्ष पुग्दा नपुग्दै अवरुद्ध बन्यो। त्यसको प्रमुख कारण पर्याप्त यात्रु नपाउनु थियो। २०७५ सालदेखि भने नियमितरुपमा हवाई सञ्चालन भइरहेको छ। उक्त विमानस्थलमा हाल १९ सिट क्षमताको विमान मात्रै अवतरण गर्न सक्छ। साढे आठ करोडको टेन्डरबाट कालोपत्रे गरिएको टरिगाउँ विमानस्थलको धावनमार्गको लम्बाइ सात सय ५० मिटरको छ भने चौडाइ ३० मिटर छ। ठूला खाले विमान अवतरणलाई कम्तीमा धावनमार्गको लम्बाइ एक हजार दुई सय मिटरदेखि माथि एक हजार पाँच सय मिटरसम्मको र चौडाइ ३० देखि ५० मिटरसम्मको धावन मार्ग कालोपत्रे आवश्यक पर्छ। हाल यहाँ नेपाल एयरलाइन्स र सीता एयरलाइन्सका जहाजले उडान भरिरहेका छन्। हाल शुक्रबारबाहेक सबै दिन टरिगाउँबाट हवाई सेवा छ। रासस
जीवित देवी ‘कुमारी’ शुक्रबार सेतो मच्छिन्द्रनाथ जात्रामा (फोटो फिचर) काठमाडौं। काठमाडौंमा सेतो मच्छिन्द्रनाथ जात्रा शुक्रबार पनि विशेष कार्यक्रमका साथ जारी रह्यो। पर्व हेर्नका लागि जीवित देवी कुमारीलाई उनको कुमारी घरबाट लगन चोक लगिएको थियो। वर्षाको दैवी शक्ति मानिने मच्छिन्द्रनाथ देवतालाई शुक्रबार साँझ हनुमानढोकाबाट मारु र चिकन मुगल हुँदै लगनसम्म भव्य रथमा लगिएको थियो। शनिबार देवताको रथले “आमारुख” लाई तीन पटक परिक्रमा गर्नेछ। जात्राको अगुवाइ गर्ने आठ पुजारीमध्येका पुजारी राजुमुनि बज्राचार्यले डिसी नेपालसँग कुरा गर्दै आमा रुखलाई परिक्रमा गर्ने परम्पराको बारेमा बताए। “लगनमा मछिन्द्रनाथ देवताको आमाको मन्दिर छ। आमालाई भेट्नको निमित्त देवतालाई लगनमा लग्ने चलन छ,” उनले भने। आइतबार देवतालाई जनबहालमा फर्काएपछि जात्राको समापन हुनेछ।
आज अधिकांश स्थानमा वर्षाकाे संभावना काठमाडौं। जल तथा मौसम विज्ञान विभागले आज बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहेको बताएको छ। लुम्बिनी, सुदूरपश्चिम, कोसी र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोसी प्रदेश, वाग्मती प्रदेश तथा गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। विभागका अनुसार देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। हाल देशमा पश्चिमी वायुसँगै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।
नेपाली सेनाद्वारा उत्कृष्ट लघु चलचित्र पुरस्कृत काठमाडौं। नेपाली सेनाले आयोजना गरेको ‘लघु चलचित्र प्रतियोगिता–२०७९’ मा लघु चलचित्र ‘कस्तुरी’ उत्कृष्ट भएको छ। नवीन दाहालले निर्देशन गरेको उक्त चलचित्रले नगद रु दुई लाख तथा सम्मानपत्र प्राप्त गरेको छ। प्रतियोगितामा लघु चलचित्र ‘सहिदको श्रीमती’ ले द्वितीय स्थान हासिल गर्दै नगद रु एक लाख ५० हजार तथा सम्मानपत्र पाप्त गरेको छ भने तृतीय स्थानमा लघु चलचित्र ‘आर्मी नेभर अफ डिउटी’ परेको छ। उक्त चलचित्रले रु ५० हजार पुरस्कार नगद र सम्मानपत्र प्राप्त गरेको छ। लघु चलचित्र ‘एक संकल्प’ र ‘सेनाको सन्तति’ ले सान्त्वना पुरस्कार प्राप्त गरेका छन्। प्रतियोगितामा उत्कृष्ट भएका चलचित्रलाई आज आर्मी अफिसर्स क्लबमा आयोजित कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्माले नगद तथा सम्मानपत्र वितरण गरेका थिए। सो अवसरमा लघुचलचित्र मूल्याङ्कनमा संलग्न लगायतका व्यक्तित्वलाई पनि कदरपत्रद्वारा सम्मान गरिएको थियो। त्यस्तै ‘सिपाही वार्षिक र द शिवपुरी जर्नल’ का उत्कृष्ट लेखकलाई पुरस्कार प्रदान गरिएको थियो।
टाटासुमो दुर्घटना हुँदा दुईको निधन, एघार घाइते त्रिशूली । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ बेतिनीमा आज टाटासुमो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा निधन भएको छ भने एघार जना घाइते भएका छन् । बेतिनीबाट यात्रु लिएर काठमाडौँ जान लागेको सुमो आज अपराह्न सोहीस्थानको सानोगोल्फूको धारापानीको ओरालोमा अनियन्त्रित हुँदा स्थानीय २५ वर्षीय छिरिङ तामाङ र १६ वर्षीया मनमाया तामाङको घटनास्थलमा नै निधन भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । ना १ ज ३९८४ नं को सुमो बेतिनीबाट काठमाडौँ जाने क्रममा धारपानीको ओरालोमा अनियन्त्रित भएर करीब ३०० मिटर तल खस्दा चार जनाको अवस्था गम्भीर रहेको हुँदा अन्य घाइतेलाई थप उपचारको लागि काठमाडौँ पठाइएको जानकारी दिए ।
माइक्रोबसको ठक्करबाट पोखरामा एक युवकको मृत्यु पोखरा । माइक्रोबसको ठक्करबाट पोखरामा एक जनाको मृत्यु भएको छ । पोखराको न्यूरोडमा शुक्रबार माइक्रोबसेको ठक्करबाट स्कुटरमा सवार ४५ वर्षीय सूर्य थकालीको मृत्यु भएको हो । पोखरा महानगरपालिका–८ का थकाली चिप्लेढुंगाबाट आउँदै थिए । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार ग५प ९४ नम्बरको स्कुटरलाई ग१ज ४५४० नम्बरको माइक्रोबसले ठक्कर दिएको हो । घटनापछि गम्भीर घाइते भएका थकालीलाई मणिपाल शिक्षण अस्पताल लगिएपनि डाक्टरले मृत घोषणा गरेका हुन् ।
१३ वर्षीया बालिकाको पेटमा आफ्नै बुबाको बच्चा महोत्तरी। महोत्तरीमा आफ्नै बुबाले छोरीलाई बलात्कार गरेर गर्भवती बनाएको घटना बाहिरिएको छ। जिल्लाको बर्दिबास-११ स्थित खयरमारा बस्ने १३ वर्षीय आफ्नै छोरी (संगिता नाम परिवर्तन)लाई आमा नभएको मौका छोपी बलात्कार गरेर गर्भवती बनाएको खुलासा भएको हो। पीडित बालिकाकी आमा सुनिता सिन्दन (नाम परिवर्तन)का अनुसार उनी गर्भवती भएको तीन दिन अगाडिमात्र थाहा भयो। ‘छोरीको १२ वर्षकै उमेरमा रजश्वला भएको थियो। चार महिनादेखि रजश्वला नभएपछि मलाई शंका लाग्यो अनि छोरीलाई सोध्दा त त्यो गर्भ आफ्नै श्रीमान‍्को पो रहेछ,’ सुनिताले भनिन्। अहिले पीडित बालिकालाई खयरमारा बजारस्थित आफ्न्तका राखिएको छ। बालिकाका ३४ वर्षीय बुवा रामबहादुर सिंन्तान भने घटना बाहिरिएसँगै फरार भएका छन्। कसरी भयो घटना? रामबहादुरका एक छोरा र दुई छोरी छन्। पीडित संगिता जेठी छोरी हुन् भने अन्य दुई जना सानै छन्। आर्थिकरुपमा निक्कै कमजोर रहेको यो परिवार मजदुरी गर्न धादिङ्गको विवि इटाभट्टामा काम गर्दै आएको थियो। विवि इटाभट्टामा काम छोडेर सपरिवार असोजतिर कामकै खोजीमा भक्तपुर पुगेको थिग्यो। श्रीमान् रामबहादुर र सुनिता दिउँसोसँगै मजदुरी गर्न निस्कन्थे। कहिलेकाहिँ सन्चो भएन भन्दै रामबहादुर घरमै बस्थे अनि विविमाया एक्लै काम गर्न जान्थिन्। कुरो कात्तिक महिनातिरको हो। सुनिता माइत गएकी थिइन्। पीडित बालिका संगिताका अनुसार बुवा रामबहादुरको गिद्दे नजर त्यही समयदेखी पर्‍यो। ‘मम्मी मामाघर गएको बेला भाइ, बहिनी सुते अनि मलाई बाबाले जवर्जस्ती करणी गर्नुभयो,’ पीडित बालिकाले भनिन्, ‘मेरो मुख छोप्नुभयो, कराएमा मार्ने धम्की दिनुभयो। मलाई पटक-पटक करणी गर्नुभयो।’ यो विषयमा कसैलाई भने परिवारका सबै सदस्यलाई मारिदिने धम्कि दिनेगरेको उनले बताइन्। काममा समेत सन्चो भएन भन्दै घरमै बस्ने र छोरीलाई जबरजस्ती गर्ने गरेको छोरीले नै भनेपछि थाहा पाएको सुनिता बताउँछिन्। कसरी थाहा भयो गर्भवती भएको? महोत्तरीको खयरमारास्थित पूर्विखोलामा बस्ने सुनिताका काकाको ७ मंसिरमा मृत्यु भयो। त्यसै कारण काकाको क्रिया वार्न विविमाया २० मंसिरमा पूर्विखोला गाउँमा आइन्। त्यतिन्जेलसम्म श्रीमान‍्ले छोरीलाई त्यसो गर्लान भन्ने उनले सोचेकी पनि थिइनन्। समयक्रमसँगै छोरी संगीताले वाकवाकी गर्ने र खाना खान पनि छाडिन्। रजश्वला नभएको पनि चार महिना बितिसकेको थियो। आमा सुनिताको शंका बढ्दै गयो। उनले छोरीलाई दर्जनौं पटक केरकार गरे पनि छोरीले त्यस्लाई टार्दै आइन्। असह्य भएपछि सुनिताले १५ चैत्रमा छोरीलाई दुई, चार झापड हानिन्। त्यसपछि बल्ल उन्ले मुख खोलिन् कि आफ्नो पेटमा हुर्किरहेको बच्चा आफ्नै बुवाको हो। विविमायाले आफू काकाको क्रिया वार्न महोत्तरी आएदेखिको गर्भ हुन सक्ने आशंका गरेकी छन्। यता पीडित बालिकाले पनि आमा महोत्तरी आएको बेला पटक(पटक करणी गरेको बताएकी छन्। पीडितलाई न्यायको लागी कहाँ पहल गर्ने थाहा नै छैन आफ्नै छोरीमाथि निच हर्कत गर्ने श्रीमानलाई कसरी सजाय दिलाउने भन्ने विषयमा सुनिता अहिले चिन्तित्त छन्। घटनाको विषयमा उनीहरूले केही स्थानीय सञ्चारकर्मीलाई जानकारी गराए पनि अझैँ सुरक्षाकर्मीलाई घटनाको विषयमा जाहेरी दिन सकेका छैनन्। कम उमेर कि वालिकाको पेटमा रहेको बच्चाको विषयमा समेत आमा सुनिताले निक्कै चिन्ता ब्यक्त गरिन्। घटना निक्कै जघन्य भएकाले बालिकाको न्यायको लागी जस्तोसुकै कदम चाल्न पछाडी नपर्ने मानवअधिकार आयोग मधेश प्रदेश कि प्रमुख मन्जु खतिवडाले बताइन्। बालिकाको संरक्षण गर्न निर्देशन दिइसकेको छुः प्रहरी उपरीक्षक मल्ल बर्दिबास-११ खयरमाराको उक्त घटनाको विषयमा ध्यानाकर्षण भएको जिल्ला प्रहरी कार्यालयका कार्यलय प्रमुख प्रकाश मल्लले बताए। बालिकाको संरक्षणको लागी विभिन्न संस्थासगँ सहकार्य अगाडि बढाएको बताउँदै उपरीक्षक मल्लले वालिकाको अवस्था बुझिरहेको बताएका छन्। बुवालाई मृत्युदण्ड दिइयोस्ः पीडित बालिका आफूलाई जवर्जस्ती करणी गर्ने वुवालाई मृत्युदण्ड दिनुपर्ने पीडित वालिकाले बताएकी छन्। ‘रातभरी पिटेर जवर्जस्ती गर्न लगाउथे उनी मेरा वुवा हुन नै सक्दैनन्,’ बालिकाले भनिन्। आमा काममा गएको बेला पनि भाइबहिनिलाई बाहिर खेल्न पठाएर जवर्जस्ती गर्ने गरेको उनले बताइन्।
खसीबोका चोरी गर्ने र खरिद गर्ने तीनजना पक्राउ भक्तपुर । भक्तपुर प्रहरीले खसीबोका चोरी गर्ने र चोरी भएको खसीबोका खरिद गरेको आरोपमा तीनजनालाई पक्राउ गरेको छ । रामेछाप दोरम्बा- १ घर भई हाल भक्तपुरको सूर्यविनायक वस्ने वर्ष २४ को सुमन तामाङ (ट्याक्सी चालक), दोरम्वा ७ घर भई हाल भक्तपुरको मध्यपुर थिमि बस्ने वर्ष ४० को मिलन तामाङ र रामेछाप मन्थली नगरपालिका वडा नं. ५ सुनारपानी घर भई हाल काठमाडौं पेप्सीकोलामा रामेछाप उदयपुर मासु पसल सञ्चालन गर्ने वर्ष ४३ को दिलबहदुर कार्की (मासु पसल सञ्चालक) गरी तीनजनालाई पक्राउ गरेको हो । बा. २ ज. ४३२७ नं.को ट्याक्सीमा १ वटा कालो बोकासहित पक्राउ परेका उनीहरुलाई सोधपुछ गर्दा काभ्रेपलान्चोक पनौती नगरपालिका वडा नं. ३ कुशादेवीको रितप्रसाद सापकोटाको घरबाट बोका चोरी ल्याएको र रामेछाप मन्थली नगरपालिका वडा नं. ५ सुनारपानी घर भई हाल काठमाडौं पेप्सीकोलामा रहेको रामेछाप उदयपुर मासु पसलका संचालक वर्ष ४३ को दिलबहादुर कार्कीलाई बेच्न हिडेको भन्नेसमेत अनुसन्धानको क्रममा खुल्न आएको छ । मासुपसलका सञ्चालक कार्कीसमेतलाई पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि चोरीमा संलग्न मानिसहरु, सवारी साधन (ट्याक्सी), बोकासमेत ईलाका प्रहरी कार्यालय बनेपा काभ्रेपलान्चोकमा पठाइएको प्रहरी परिसर भक्तपुरले जनाएको छ । साथै, हालसम्मको प्रारम्भिक अनुसन्धानमा काभ्रेपलान्चोकको विभिन्न ८ स्थान र भक्तपुरको १७ स्थानबाट ४ वटा बोका र ३६ वटा खसी चोरी भएको भन्ने समेत खुल्न आएको परिसरका सूचना अधिकृत बसन्त पाठकले बताए ।
न्यायको पर्खाइमा प्रसूति महिला, श्रीमान फरार भएपछि शिशु र आमाको बिचल्ली सिरहा। प्रेमको मायाजालमा फसेकी एक प्रसूति  महिला  अहिले न्यायको खोजीमा भाैँतारिरहेकी छिन् । सिरहाका सुलैना दासलाई  प्रेमको मायाजालमा फसाएर गर्भवती बनाइ श्रीमानले छोडेर हिँडेपछि  दुई वर्षीय बालक र १९ दिने दुधे बालिकासहित अहिले न्यायको पर्खाइमा बसिरहेकी छिन् । सिरहाको सुखीपुर नगरपालिका–३ सलमपुरका कुलदिप दाससँग प्रेम विवाह गरेकी सुलेना दास श्रीमान फरार भएपछि दुधे बालिकासहित उनी बिचल्लीमा परेकी हुन्। दुई वर्षअघि कुलदिपसँग प्रेम विवाह गरेको सुलेनाले बताइन् । सुखीपुरमा टेन्टको बाजा बजाउने काम गर्दै आएका कुलदिपसँग नजिकिएकी उनले आफू दोस्रोपटक  गर्भवती भएको बताएपछि श्रीमानले गोलबजारमा डेरा खोजेर राखिदिएको सुनाइन् । कुलदिपसंग बिहे गरेलगतै छोरा जन्माएका उनी १९ दिन पहिले फेरि अर्को सन्तानको रुपमा छोरीलाई जन्म दिएकी छिन् । उनले भनिन्, ‘पहिलो सन्तान दुई वर्षको छ, अहिले फेरि छोरी पाएको छु ।’ तीन महिनाको गर्भ भएपछि घरबाहिर गोलबजारमा राखेर फरार भएका श्रीमानको खोजी गरी न्याय दिलाइदिन जिल्ला प्रहरीसँग गुहार मागे पनि न्याय पाउन नसकेको उनले गुनासो गरिन्  । ‘अब सुत्केरी अवस्थामा दुधे बालक लिएर कहाँ जानु, कसलाई गुहार्नु ?,’ उनले दुखेसो पोख्दै भनिन्, ‘प्रहरीकोमा जाँदा उल्टै गाली गरेर फर्काउँछन्, कोसँग कहाँ गएर न्याय माग्नु ?’ केही दिनअगाडि  प्रहरीले पैसा खाएर गुपचुपै कुलदिपलाई विदेश पठाइदिएको सुनेको उनले बताइन् । ‘अब त न्याय पाउने आश पनि मरेर गयो । म जस्तो असहायलाई कसले सहायता गर्छ ?,’ उनले भनिन्, ‘डेरामै रहँदा कहिलेकाहीं आउने श्रीमानले एकाध हजार दिएर जान्थे, त्यही बेला गर्भवती भएछु । दुई छाक खान समेत गाह्रो परिरहेको छ ।’ हालसम्म उनलाइ मुक्ति नेपालले सहयोग गरिरहेको बताइन् । कुलदिपले ल्याए पनि उनको घरपरिवारले नस्वीकारेकाले घर जान नसकिएको र आफ्नै खुसीले विवाह गरेकाले माइत जाने अवस्था पनि नरहेको सुनैनाले सुनाए । उनले भनिन्, ‘घर जाउँ सासु ससुराले तँलाई चिन्दैनौँ, हामी घरमा भन्दै पस्नै दिँदैनौँ भन्नुहुन्छ ।  आफ्नै मर्जीले विवाह गरेकाले माइत जान पनि सक्दिनँ ।’ गर्भवत्ति अवस्थामा सुनैना कसको सहारामा सुत्केरी हुने चिन्तामा थिइन् । काखे बालक र अर्को जन्मने अवस्थाको गर्भले उनी ब्याकुल रहेको अवस्थामा हामीले समाजिक उतरदायित्व पूरा गरेको मुक्ति नेपाल संस्थाका कार्यकारी निर्देशक श्यामकुमारी साहले बताइन् । महिला अधिकारका लागि क्रियायाशील स्थानीय मुक्ति नेपालले गर्भवती दासलाई मनोविमर्श सेवा, स्वास्थ्य उपचारमा सहयोगसहित जिल्ला प्रहरीमा निवेदन दिन सघाएको संस्थाका निर्देशक साहले जनाइन् । विवाह गरेको दुई वर्ष बितिसकेपनि उनको नागरिकता बनेको छैन । माइतीबाट जन्म प्रमाणित ल्याएको कागज पनि श्रीमानले लिएर हिँडेको सुनैनाले बताइन् । उनले भनिन्, ‘अरु केही नभएपनि तत्काल नागरिकता, विवाह दर्ता र छोराको जन्मदर्ता बनाई दिए हुनेथियो ।’
डलर साट्ने बाहानामा ठगी गरेको आरोपमा २८ वर्षीय युवक पक्राउ काठमाडौँ। डलर साट्ने बाहानामा विभिन्न व्यक्तिहरुबाट ३० लाख ५० हजार रुपैयाँ ठगी गरेको अभियोगमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-२ कर्थलि घर भई हाल भक्तपुर बालकोट बस्ने २८ वर्षीय भिम बहादुर तामाङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यकाको विभिन्न स्थानहरूबाट बिभिन्न व्यक्तिहरुलाई फोन सम्पर्क गरी डलर साटीदिन्छु भनि प्रलोभन देखाई उक्त रकम ठगी भएका घटनाको थप अनुसन्धानको क्रममा तामाङको संलग्नता रहेको खुल्नआएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई भक्तपुर बालकोट बसपार्कबाट पक्राउ गरेको हो। उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत सातदोबाटो पठाउनुका साथै घटनामा संलग्न अन्य व्यक्तिहरुको समेत खोजी गरिरहेको छ।
स्थानीय तहबाटै श्रम स्वीकृतिको आवेदन दिँदा श्रमिकलाई के फाइदा ? काठमाडौँ। सरकारले आगामी वैशाख १ गतेदेखि वैदेशिक रोजगारीका लागि लिइने श्रम स्वीकृतिको आवेदन स्थानीय तहबाट गर्न सकिने व्यवस्था गरेको छ। अहिले नयाँ श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिको काम अनलाइनबाट भइरहेको छ। अनलाइनबाट आफैँ श्रम स्वीकृतिका लागि आवेदन दिन नसक्नेले भने वैदेशिक रोजगार कार्यालय आसपास रहेका सेवा प्रदायकबाट शुल्क तिरेर सेवा लिँदै आएका छन्। सरकारले स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रमार्फत नै निःशुल्करूपमा आवेदन दिन सक्ने निर्णय गरेको छ। सेवाग्राहीलाई नजिकको स्थानबाटै सेवा प्रदान गर्ने उद्देश्यअनुरुप स्थानीय तहबाट नै सेवा प्रवाह हुनु फलदायी हुने भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रीस्तरबाट बुधबार उक्त निर्णय गरेका हुन्। स्थानीय तहबाटै वैदेशिक रोजगारीसम्बन्धी सूचना सरोकारवालामा पुर्‍याउने र वैदेशिक रोजगारीका लागि व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिका लागि आवेदन गर्ने कार्य आगामी वैशाख १ गतेदेखि स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रमार्फत समेत गर्ने गरी प्रधानमन्त्रीबाट निर्णय भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका सहप्रवक्ता कविराज उप्रेती रोजगार सेवा केन्द्रबाट नै श्रम स्वीकृतिका लागि आवेदन दिन सकिने भएपछि वैदेशिक रोजगारीमा जाने श्रमिकले निकै फाइदा लिनसक्ने बताउँछन्। आफ्नो गाउँमै रहेको सेवा केन्द्रमार्फत आवेदन दिन सकिने भएपछि रोजगार कार्यालय आसपास रहेका सेवा प्रदायककोमा फारम बुझाउन जान नपर्ने उनको भनाइ छ। “अब श्रमिकले सटरमा फारम बुझाउन जान परेन, रोजगार सेवा केन्द्रबाट निःशुल्क सेवा लिन सकिनेछ, यसबाट श्रमिकको समय र पैसा पनि बचत हुन्छ”, सहप्रवक्ता उप्रेती बताउँछन्। सरकारी निकायबाटै आवेदन दिन सकिने भएपछि श्रम स्वीकृतिका लागि आवश्यक कागजपत्र नपुगेको भन्दै सेवाप्रदायकले सेवाग्राहीसँग गर्ने अनुचित लेनदेनको अवस्था पनि यसले अन्त्य गर्ने उनको विश्वास छ। “कागजपत्र लिने र स्क्यान गर्ने तर कुनै कागजपत्र श्रम स्वीकृति लिने प्रणालीमा अपलोड नगर्ने र सेवाग्राहीसँग कागजात पुगेन भन्दै बार्गेनिङ गर्ने प्रवृत्ति अन्त्य हुनेछ”, सहप्रवक्ता उप्रेती भन्छन्। सेवा केन्द्रबाट आवेदन दिँदा सम्बन्धित स्थानीय तहबाट कति श्रमिक वैदेशिक रोजगारीमा गए, कुन–कुन सीपयुक्त जनशक्ति बाहिरिए भनी तथ्याङ्क राख्न पनि सहयोग हुनेछ। बेरोजगार र रोजगारको स्थितिका बारेमा पनि जानकारी लिन सकिने उनको भनाइ छ। मन्त्रालयले चैत महिनाभित्रै रोजगार सेवा केन्द्रमा रहेका कर्मचारीलाई अभिमुखीकरण गर्ने तयारी गरेको छ। “चैतभित्र अभिमुखीकरण सम्पन्न गरी वैशाख १ देखि कार्यान्वयन गर्ने तयारी गरेका छौँ”, उनी भन्छन्, “रोजगार संयोजक र सहसंयोजकलाई अनलाइबाटै अभिमुखीकरण गर्ने योजना छ।” सरकारले सात सय ५३ स्थानीय तहमा रोजगारसम्बन्धी सेवा प्रवाहमा सहजीकरण गर्ने गरी रोजगार सेवा केन्द्र स्थापना गरेको छ। उक्त केन्द्रमा रोजगार संयोजक र रोजगार सहसंयोजक गरी दुई कर्मचारीको दरबन्दी उपलब्ध गराइएको छ।
प्रिमियम आईपीटिभी र डिसहोमको आईटिभीमा आइपिएल क्रिकेट २०२३ एचडी गुणस्तर हेर्न सकिने काठमाडौँ । पछिल्लो समय प्रविधिमा आएको परिवर्तन र ग्राहकहरुको चाहनालाई मध्य नजर गरेर डिस मिडिया नेटवर्कले आइपी टिभीको सेवा शुभारम्भ गरेको डिस मिडिया जनाएको छ । नेपालको पहिलो प्रिमियम आईपी टिभी DH ITV, DTH र Terrestrial (T2) भन्दा फरक प्रविधि इन्टरनेट प्रोटोकल आधारित भएको कारण यो आइपी टिभीमा लोकप्रिय Cricket Tournament IPL HD क्वालिटीमा हेर्न सकिने डिस मिडियाले जनाएको छ । यस्तै अन्तराष्ट्रिय सिरिजहरू जस्तै कोरियन, पाकिस्तानी, इरानी, वुल्गेरियन आदी आफुले चाहेको समयमा हेर्न सकिने जनाएको छ । लाइभ टिभीमा दैनिक विभिन्न स्पोर्टस्, सिरिज, मुभीहरु र रमाइलो टिभीमा विशेष सिरियल भाग्य सिँदुरको र आनन्दी संगै अन्य सेवा प्रदायकको मा उपलव्ध नभएको Shorts TV, गुञ्जन, सिने हिट्स, जुनियर टिभी र नेपाली भाषामा लोकप्रिय कोरियन सिरिज जस्ता डिस होमका विशेष च्यानलहरु लगायत २०० भन्दा वढी टिभी च्यानलहरु, ५ हजार घण्टा भन्दा बढी विभिन्न Contentहरु, Video on Demand, Catch- up TV/Start-over TV, Youtube, TikTok,लगायत अन्य विभिन्न एप तथा फिचर्सहरु उपलव्ध डिस मिडिया जनाएको छ । Internet Protocol (IP) Network मार्फत Television सिग्नल प्राप्त हुने भएकोले यो सेवा लिनको लागि Internet connection हुन जरुरी रहेको बताइएको छ । ग्राहकहरुले आफ्नो नजिकैको डिलर दाइकोमा वा हाम्रो ग्राहक सेवा केन्द्रमा सम्पर्क गरेर Internet connection जडान गर्नु भई नेपालको पहिलो प्रिमियम आईपी टिभी DH Fibernet मा Exclusive, Premium, HD TV Channel हरुको मनोरञ्जन लिन सकिने व्यवस्था जनाएको छ । हाम्रो ग्राहकहरुले DTH लाई जस्तै साथ र मायाका साथै अन्य सेवा प्रदायकको भन्दा गुणस्तरीय र उत्कृष्ट सेवा पाउनुहुनेछ भन्नेमा कम्पनीले विश्वास लिएको जनाएको छ ।
सञ्चालन हुन सकेन बायोग्यास प्लान्ट भजनी। कैलालीको टीकापुरमा नगरपालिकाले निर्माण गरेको बायो ग्यास प्लान्ट एक वर्षदेखि अलपत्र परेको छ। सामुदायिक छाडा चौपाया व्यवस्थापन गर्ने र त्यही चौपायाको गोबरबाट ग्यास उत्पादन गरेर विपन्न ५५ घरधुरीका लागि पाइप लाइनबाट घरमै ग्यास पुर्‍याउने भनिए पनि गोबरको अभाव र निर्माण कम्पनीले प्लान्ट नगरपालिकालाई हस्तान्तरण गर्न नसक्दा अलपत्र परेको हो। खोटेना भुराखानी सामुदायिक वनमा निर्माण भएको गौशालासँगै विपन्न परिवारलाई सहुलियतमा घरघरमा ग्यास पुर्‍याउने उद्देश्यले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र नगरपालिकाको संयुक्त लगानीमा निर्माण भएको आयोजना समयमा हस्तान्तरण नहुँदा त्यसको लाभ उठाउन सकिएको छैन। रु एक करोड ६० लाखमा बनेको प्लान्ट निर्माणको काम नेपाल ऊर्जा विकास कम्पनीले पाएको थियो। आर्थिक वर्ष २०७६/७७ भदौदेखि काम सुरु भएको थियो। नगरपालिकाका इञ्जिनियर नवराज जोशीले यसबाट नगरपालिकाभित्रका सामुदायिक चौपाया व्यवस्थापनसँगै स्थानीयले ग्यास प्राप्त गर्ने गरी काम थालिएको हो भने। “अहिलेसम्म बायोग्यास प्लान्ट निर्माण कम्पनीकै स्वामित्वमा छ। हाम्रो स्वामित्वमा आउन सकेको छैन”, इञ्जिनियर जोशीले भने, “हाम्रो स्वामित्वमा आएपछि ग्यास वितरणलगायतका काम नगरपालिकाले अगाडि बढाउँछ।” निर्माण कम्पनीले आफूहरु तयार भए पनि नगरपालिकाले चासो नदेखाएकाले प्लान्ट हस्तान्तरण हुन सकेको छैन भन्छन्। कम्पनीका श्रीराम अधिकारीले नगरपालिकालाई प्लान्टको स्वामित्व ग्रहणका लागि धेरै पटक पत्राचार गरेको बताउँछन्। त्यसको प्रतिक्रिया नआएपछि हस्तान्तरणमा समस्या भएको उनको भनाइ छ। “नगरपालिकाले ग्यास बालेर हस्तान्तरण गर भन्छ। ग्यास बाल्न गोबर नै छैन”, अधिकारीले भने, “यो चैतभित्र हस्तान्तरण गर्ने भनेका छौँ। नगरपालिकालाई गोबरको व्यवस्थापनका लागि खबर गरेका पनि छौँ। सम्भवतः चैतभित्र हस्तान्तरण हुन्छ।” प्लान्ट निर्माणको केही भुक्तानी अझै बाँकी रहेको बताउँदै अधिकारीले चौपायालाई आहाराको व्यवस्थापनमा ध्यान दिन सकेपछि मात्रै बायोग्यास प्लान्ट निरन्तर सञ्चालनमा रहन सक्ने बताए। उनले सुरुआती चरणमा बढी गोबर चाहिने भएकाले पनि गोबर व्यवस्थापन चुनौती बनेको बताए। उसो त अहिले पनि गौशालामा चार सयभन्दा बढी चौपाया छन्। ती चौपाया आहारा नपाउँदा भोकभोकै पर्ने गरेका छन्। नगरपालिकाले गोबर ग्यास उत्पादन मात्रै नभई गौशालामा दूध सङ्कलन केन्द्र स्थापनाका लागि भवन निर्माण सुरु गरेको छ। सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा दूध सङ्कलन केन्द्रका साथै चौपायालाई पानीका लागि ट्याङ्की, सिसी क्यामेरा, गोबर व्यवस्थापनका लागि ट्रस्ट, आहारा खुवाउने साधन, दूध सङ्कलनका लागि भाडाको व्यवस्थापन सुरु गरेको छ। “प्रदेश सरकारले बजेट उपलब्ध गराएपछि यो सबै काम नगरपालिकाले गरिरहेको छ। यो आर्थिक वर्षको अन्तिमसम्म सबै काम सम्पन्न हुन्छ”, नगरपालिकाका इञ्जिनियर जोशी भन्छन्, “चौपाया व्यवस्थापनमा राम्रोसँग काम गर्नसके त्यहाँ कार्यरत कर्मचारीको आर्थिक व्यवस्थापन त्यहीँबाट हुन्छ।” त्यतिमात्र नभई नगरपालिकाले उक्त बायोग्यास प्लान्टबाटै फोहरको व्यवस्थापन गर्ने तयारीसमेत गरेको छ। बजार क्षेत्रबाट सङ्कलन भएको सड्ने फोहरलाई ग्यास उत्पादनमा प्रयोग गर्ने र त्यसबाट प्रशोधन भएको बाँकी वस्तुलाई मल बनाएर किसानलाई सहुलियतमा वितरण गर्ने योजना रहेको नगरपालिका नगर प्रमुख रामलाल डगौरा थारु बताउँछन्। उनले निर्माण कम्पनीले नगरपालिकालाई हस्तान्तरण नगरेका कारण सञ्चालनमा ढिलाइ भएको बताए। “अब प्लान्टबाट ग्यास उत्पादन सँगसँगै प्राङ्गारिक मल उत्पादन पनि हुनेछ। ग्यासका लागि चौपायाको बढीभन्दा बढी आवश्यकता पर्ने भएकाले त्यसलाई रोजगारीसँग जोडेर गाईबाट उत्पादन भएको दूधलगायतका वस्तुको बजारीकरणका लागि दूध सङ्कलन केन्द्रको निर्माण भइरहेको छ”, नगरप्रमुख थारु भन्छन्।
तीन जिल्लाको संगमस्थल पातीहाल्नेमा बढ्यो पर्यटकको चहलपहल बागलुङ। राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको मध्यपहाडी लोकमार्गमा पर्ने पातीहाल्नेमा पछिल्लो समय आन्तरिक पर्यटकको चहलपहल बढेको छ । बागलुङ, पूर्वीरुकुम र रोल्पाको संगमस्थल पातीहाल्नेमा गर्मीयाम सुरु भएपछि दिनप्रतिदिन यहाँ आउने पर्यटकको सङ्ख्या बढ्न थालेको छ । चिसो हावापानी, शान्त वातावरणका कारण यहाँ पर्यटक पुग्ने गरेका हुन् । छेउमै रहेका रिगताल र तिलाचन तालले गर्दा पातीहाल्नेमा आगन्तुकको चहलपहल बढी हुने गरेको छ । बागलुङ र पूर्वीरुकुम दुवैतर्फबाट सहजरूपमा यहाँ आउन सकिने हुँदा पर्यटकको रोजाइमा पातीहाल्ने पर्न थालेको हो । रिगताल बागलुङको निसीखोला गाउँपालिका–६ मा पर्छ भने तिलाचन ताल रोल्पाको सुनछहारी गाउँपालिका–१ मा पर्छ । पातीहाल्नेबाट १५ मिनेटको पैदलयात्रामा रिगताल पुग्न सकिन्छ भने आधा घन्टामा तिलाचन ताल पुग्न सकिन्छ । रिगतालसम्म मोटरबाटो पुगेको हुँदा आगन्तु गाडीमा पनि पुग्न सक्छन् । बाह्रै महिना पर्यटकले भरिने पातीहाल्ने यो समय अझ बढी आएको निसीखोला गाउँपालिका–६ का अध्यक्ष हेमबहादुर बुढामगर (सूर्यमान)ले बताए । सामाजिक सञ्जाल तथा विभिन्न सञ्चारमाध्यममा यी ठाउँको प्रचार–प्रसार तीव्ररूपमा भएको हुँदा पातीहाल्ने पर्यटकको रोजाइमा परेको बताए । केही वर्ष अगाडि निसीखोला गाउँपालिकाले पातीहाल्नेबाट रिगतालसम्म सडक पु¥याए पनि अहिले सीमा विवादका कारण पर्यटन पूर्वाधार बन्न नसकेको अध्यक्ष बुढामगरको भनाइ छ । “पहिले त यहाँका चर्चा खासै थिएन, जब मध्यपहाडी लोकमार्ग कालोपत्र भयो त्यसयता हजारौँ पर्यटक यहाँ आएर रमाउने गरेका छन्, ठाउँ निकै रमणीय छ, यहाँ थुप्रै पूर्वाधार निर्माण गर्नुपर्ने छ”, अध्यक्ष बुढामगरले भने, “अहिले केही समस्या परेको हुँदा काम गर्न सकिएको छैन, समस्या समाधान भयो भने पालिकाले प्रदेश र केन्द्र सरकारसँग सहकार्य गरेर काम गर्नुपर्ने देखिएको छ ।” स्थानीय वीरबहादुर विकले दैनिक डेढ सय बढी आन्तरिक पर्यटक घुम्न आउने गरेको बताए । उनले हिउँसँग रमाउन र गर्मी छल्न आउनेको सङ्ख्या धेरै हुने गरेको बताए। विकले यहाँ घुम्न आउनेले स्थानीय उत्पादन आलु, सिमी, भाँगो र चोयाबाट बनाइएका सामान किनेर लैजाने गरेको सुनाए । “यहाँ घुम्न आउने मान्छे एक ठाउँका मात्रै छैनन्, धेरै जिल्लाबाट आउने गर्छन्, कति टेन्ट टाँगेर दुई–चार दिन यही बस्ने रमाइलो गर्ने गर्छन्, यहाँ बस्दाखेरी लोकल कुखुरा, आलु किनेर यही नै पकाएर खान्छन्”, उनले भने, “स्थानीयलाई पनि पैसा हुने भयो, दुई वर्ष जति भयो धेरै मान्छेहरू आउन थालेको ।” यो याममा त अझ वरपर फुलेका लालीगुराँसले धेरैको मन लोभ्याउने गरेको छ । पातीहाल्ने पुग्ने अधिकांश पर्यटक रिगताल र तिलाचन तालमा पुग्छन् । सडकको सहज पहुँच भएको हुँदा बर्खामा पनि यहाँ पर्यटकको कमी हुँदैन । पूर्वीरुकुमबाट घुम्न आएका शिवकुमार खड्काले सडक सहज भएको हुँदा आफू पटक–पटक घुम्न आएको बताए । लोकमार्गमा यात्रा गर्दा पूर्वीरुकुमबाट लुकुमगाउँ हुँदै पातीहाल्नेसम्म अनेकौँ सुन्दर दृष्य अवलोकन गर्न सकिने हुँदा लामो बिदा पर्दा घुम्न आइराख्ने बताए। “पाँच–छ वर्ष अगाडि यहाँ एकपटक आएको थिएँ, यस्तो चहलपहल थिएन, यहाँ घर पनि बनेका थिएनन्, सुनसान थियो, अहिले यो ठाउँ निकै फेरिएको छ, अलि चोसो ठाउँ हो भयो, त्यही भएर गर्मी ठाउँबाट धेरै आउने गरेको पाइन्छ,” खड्काले भने, “मुख्य कुरा त विकास नै रैछ, यो सडक नबनेको भए यो ठाउँ ओझेलमै हुन्थ्यो, तर अब उत्कृष्ट गन्तव्य मध्यमा पर्छ यो ।” यो स्थानमा बागलुङको दोस्रो व्यापारिक केन्द्र बुर्तिबाङबाट एक घन्टामै पुग्न सकिन्छ । बिदाको दिन करिब तीन सय पर्यटक यहाँ पुग्ने गरेको स्थानीयको भनाइ छ ।