content
stringlengths
20
64.1k
अन्नपूर्ण हिमालमा मृत्यु भएका र उद्धार गरिएकालाई काठमाडौँ लगियो म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण हिमालमा मृत भेटिएका र जीवितै उद्धार गरिएका आरोहीलाई आज काठमाडौँ लगिएको छ । सात हजार पाँच सय मिटरको उचाइमा मृत भेटिएका स्कटल्यान्डका नोयल हान्नाको शव हेलिकप्टरमार्फत त्रिवि शिक्षण अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक किरन लामाले बताए । उनका अनुसार बेहोस अवस्थामा जीवितै भेटिएका भारतका बलदेव कौरलाई पनि हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौँको सिभिल अस्पतालमा लगिएको छ । सेभेन समिट टे«कमार्फत अन्नपूर्ण आरोहणका लागि आएका हान्ना सुतेकै ठाउँमा बिहान मृत भेटिएका थिए । पायनियर टे«किङ कम्पनीबाट अन्नपूर्ण आरोहण गर्न गएका कौर अक्सिजनको कमीका कारण बेहोस भएका हुन् । सेभेन समिटबाट आरोहणमा गएका भारतको राजस्थानको किशनगढका ३४ वर्षीय अनुराग मालु भेटिएका छैनन् । आरोहण सफल नभएपछि मालु आधार शिविर फर्कने क्रममा सोमबार दिउँसोदेखि सात हजार पाँच सय मिटरको उचाइबाट समातेको डोरी फुत्किएपछि खसेर बेपत्ता भएका थिए । उद्धारमा खटिएका म्याग्दी दानाका इन्द्रसिंह शेरचनका अनुसार आज चार वटा हेलिकप्टरमार्फत खोजी गरिएको थियो । सिम्रिक, कैलाश, एयर अल्टिच्युट र एभरेष्ट एयरका हेलिकप्टर उद्धार र खोजीमा परिचालन भएका हुन् । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालमा शनिबारदेखि चालु वर्षको वसन्त ऋतुको आरोहण सुरु भएको थियो । यस वर्ष अन्नपूर्ण हिमाल आरोहणका लागि पर्यटन विभागबाट पाँच समूहका ४५ जनाले अनुमति लिएका छन् । अन्नपूर्ण हिमाल संसारको दशौँ अग्लो हिमाल हो । विसं १९५० मा फ्रान्सका मौरिस हर्गोजले अन्नपूर्ण पहिलो पटक आरोहण गरेका थिए । मौरिसले अन्नपूर्ण चढेको तीन वर्षपछि १९५३ मा सर एडमण्ड हिलारी र तेन्जिन नोर्गे शेर्पाले सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका थिए ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मिडिया सेन्टर सञ्चालन काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मिडिया सेन्टर सञ्चालनमा ल्याइएको छ। मन्त्रिपरिषद् बैठकका निर्णय र सरकारका घोषणा सार्वजनिक गर्दा सञ्चारकर्मीलाई समाचार सङ्कलन सहज र व्यवस्थित गर्न तयार गरिएको मिडिया सेन्टरबाट आज बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता रेखा शर्माले सेन्टरको सुरुआत गरिन्। प्रवक्ता शर्माले बैठक कक्षसँगै रहेको स्टुडियोबाट मिडिया सेन्टरमा रहेका सञ्चारकर्मीसँग प्रत्यक्ष दोहोरो संवाद गरेकी थिइन्। मिडिया सेन्टरमा सञ्चारकर्मी तथा पत्रकारसँग प्रधानमन्त्री कार्यालयमा रहेको स्टुडियोबाट दोहोरो संवादको व्यवस्था मिलाइएको छ भने सञ्चारकर्मीले भिडियो सामग्री तत्काल उपलब्ध हुने भएको छ। त्यसैगरी प्रधानमन्त्री निवास बालुवाटारमा पनि यसअघि नै सञ्चारकर्मीको सुविधाका लागि मिडिया सेन्टर सञ्चालनमा ल्याइएको छ।
कोरोनाबाट एकैदिन २ जनाको मृत्यु, १७१ जनामा संक्रमण पुष्टि काठमाडौं। नेपालमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ। मंगलबार स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा थप दुई जनाको कोरोना संक्रमणकै कारण ज्यान गएको हो भने थप १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ९८० जनाको पीसीआर परीक्षण गर्दा १०५ जना र १ हजार ३१२ जनाको एन्टीजेन परीक्षण गर्दा ६६ जना गरी १७१ जनामा कोरोना संक्रमण देखिएको हो। मन्त्रालयका अनुसार २ हजार २९२ नमुना परीक्षण गरिएको थियो। योसँगै नेपालमा कोरोना सक्रिय संक्रमितको संख्या ३९७ जना पुगेको छ। संस्थागत आइशोलेशनमा २२ जना, आईसीयूमा ८ जना र भेन्टिलेटरमा ४ जना उपचाररत रहेको मन्त्रालयले जनाएको छ। मंगलबार ८५ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन्।
टोखामा पैँतीस फिट अग्लो बुद्धको मूर्ति निर्माण हुने काठमाडौँ। काठमाडौँको टोखामा ३५ फिट अग्लो बुद्धकोमूर्ति निर्माण हुने भएको छ। टोखा नगरपालिकाले झोर महाङ्कालमा ३५ फिट अग्लो बुद्धकोमूर्ति निर्माण गर्न लागेको हो। नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखा नगरपालिकाको रु ८२ लाख लागतमा ३५ फिट अग्लो बुद्धकोमूर्ति निर्माण गर्न लागिएको जानकारी दिए। सो मूर्ति निर्माणका लागि टोखा नगरपालिकाले श्रीबहादुर तामाङको अध्यक्षतामा झोर महाँकाल बुद्धमूर्ति निर्माण उपभोक्ता समितिसमेत गठन गरिसकेको छ। दुई वर्ष अगाडि नै उक्त मूर्ति निर्माण अगाडि बढेको भए पनि यस वर्षमात्रै निर्माण सुरू भएको टोखा– १ का वडाअध्यक्ष रमेशकुमार लामिछानेले जानकारी दिए। उक्त बुद्धको मूर्ति एक वर्षभित्र पूरा भइसक्ने सो नगरपालिकाले जनाएको छ। टोखा नगरपालिका–१ स्थित झोरमहाँकाल देवीसँगै रहेको ६१ रोपनी सार्वजनिक जग्गामध्ये हाल दुई रोपनी क्षेत्रफलमा उक्त बुद्धको मूर्ति निर्माण हुन लागेको हो। बुद्धको मूर्ति निर्माणसँगै उक्त क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने वडाध्यक्ष लामिछानेले बताए।
सङ्कटमा परेका वन्यजन्तुको उद्धार जानकी। बाँके डिभिजन वन कार्यालयले चालु आर्थिक वर्षको हालसम्म सङ्कटमा परेका ३० वन्यजन्तुलाई उद्धार गरेको छ। आर्थिक वर्ष २०७९/८० को माघकसम्म घाइते, टुहुरा, बाटो बिराएर गाउँबस्ती पुगेका र सङ्कटमा परेका ३० वन्यजन्तुलाई उद्धार गरिएको कार्यालयका योजना अधिकृत गणेश खड्काले बताए। उद्धार गरिएका वन्यजन्तुलाई सुरक्षित स्थानमा छोडिएकोे उहाँको भनाइ थियोे। योजना अधिकृत गणेश खड्काकानुसार उद्धार गरिएकामा सबैभन्दा बढी सर्प प्रजातिका २०सर्पलाई उद्धार गरिएको छ। तीमध्ये दस गोमन सर्प, दुई रसेल भाइपर, एक करेत र एक धामन सर्प छन्। यस्तै छ वटा अजिङ्गरलाई पनि उद्धार गरिएको थियो। ती अजिङ्गरमध्ये तीन वटा कम्दी वन क्षेत्र, दुई वटा डुडुवाकै हजरत सामुदायिक वन र एउटालाई बाँके राष्ट्रिय निकुञ्जमा छोडिएको थियो। वन कार्यालयका अनुसार बाँकेको बैजानाथ गाउँपालिकाको टिटिहिरिया, नेपालगञ्ज–१९ को बनियागाउँ, खजुरा र डुडुवा गाउँपालिकाको कम्दीबाट चार गोहीलाई उद्धार गरिएकामा तीन वटालाई बाँकेको राप्ती नदीमा र एउटालाई बबई नदीमा छोडिएको थियो। उद्धार गरिएको एउटा चितुवाको बच्चाको मृत्यु भएको थियो भने घाइते रातो अमासी बाँदरलाई ढकेरी वन क्षेत्रमा छाडिएको थियो। अन्य वन्यजन्तुलाई बाँके र बर्दियाका सुरक्षित क्षेत्रमा छाडिएको योजना अधिकृत खड्काले बताए। उक्त कार्यालयले अघिल्लो आर्थिक वर्षमा पनि ३० सङ्कटमा परेका वन्यजन्तुलाई उद्धार गरेको थियो।
डडुवा, रानीटार र झुलेटारमा फस्टायो तरकारी खेती चौतारा। सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–१४ डडुवा, रानीटार र झुलेटारका तीन सय घरधुरीले तरकारी खेतीबाटै राम्रो आम्दानी गर्दै आएका छन्। “म दुई वर्ष अघिसम्म विदेश जाने चक्करमा थिए, अहिले यो तरकारी खेतीबाट राम्रै आम्दानी भएको छ”, गोलभेँडा टिप्दै डडुवाकी मीना नेपालले भनिन्। दुईचार पैसाका निम्ति निकै कष्ट भोगेकी नेपाललाई अहिले तरकारी व्यवसायबाट राम्रो आम्दानी मिलेको छ। गोलभेँडा बेचेर यो वर्ष सात लाख घर भित्रिने उनको अनुमान छ। अहिले उनले चार रोपनी बारीमा गोलभेँडा रोपेका छन्। उनी भन्छिन्, “श्रीमान शिक्षक, बालबच्चा विद्यालय जान्छन्, सासूससुरा काम गर्न सक्नुहुन्न। रेखदेख मेरै हो, बिदाको समयमा सहयोग गर्नुहुन्छ।” खेताला, बीउबिजन, औषधि गर्दा डेढ लाख जति लगानी परेको छ। हरेक दिन दिउँसो ४ बजेपछि डडुवा, रानीटार र झुलेटारबाट साँगाचोक हुँदै गोलभेँडा बोकेर दैनिक पाँचदेखि ११ वटासम्म गाडी काठमाडौँ जान्छन्। गाडी लिएर किसानको गोलभेँडा लिन व्यापारी गाउँमा नै आउँछन्। यो क्षेत्र समुन्द्री सतहबाट एक हजार चार सय मिटरको उचाइमा छ। दक्षिणपट्टि फर्केको जमिन, रातो र कालो मिसिएको माटो तरकारीका लागि उर्वर मानिन्छ। सामान्य रुपमा गोलभेँडा रोपेका परिवारले पनि यो समय कम्तीमा एक लाख आम्दानी गरेको राम तामाङ बताउँछन्। धेरै क्षेत्रफलमा गोलभेँडा लगाउँदै आउनुभएका उद्धव नेपालको परिवारले २० लाखको बेचिसकेको छ। अहिले गोलभेँडा र काउली मात्र भए पनि यामअनुसार विभिन्न प्रकारका नगदे र कोसेबाली उत्पादन गर्दै आएका डडुवाका स्थानीय किसानले तरकारी बेचेर मनग्य आम्दानी भित्र्याउने गरेका छन्। चौतारा साँगाचोकगढी नगरपालिकाले यो क्षेत्रलाई तरकारी पकेट क्षेत्र घोषणा गरेपछि व्यवसाय फस्टाउँदै गएको छ। तरकारी बिक्री गरी कमाएको पैसाले दैनिक घरखर्च चलाउन, चाडपर्व मनाउन र बालबच्चाको पढाइ खर्च त मज्जाले टरेकै छ। किसानले खर्च कटाएर बचेको पैसा बचत गर्न थालेको नेत्रज्योति कृषि सहकारी संस्थाका प्रबन्धक नेत्रबहादुर बस्नेतले जानकारी दिए।
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट आठ जना पक्राउ काठमाडौँ। देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ८ जनालाई पक्राउ गरेको छ। सर्लाही, बरहथवा नगरपालिका-७ वनटोल बस्ने ६८ वर्षीय परीक्षण पण्डितलाई अवैध लागूऔषध गाँजा ४ सय ८० ग्रामसहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको प्रहरीले घरभित्र लुकाई छिपाई राखेको उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो। यसैगरी सर्लाही, लालबन्दी नगरपालिका-१२ जियाजोर जाने बाटो नजिकबाट अवैध लागूऔषध गाँजा करिब ९ केजीसहित सोही नगरपालिका-१४ बस्ने २५ वर्षीय वीर बहादुर गोलेलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी पत्थरकोटबाट खटिएको प्रहरीले बा.५० प २९९८ नम्बरको मोटरसाइकल चालक गोलेलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो। मोरङ, उर्लाबारी नगरपालिका-३ केर्खाली चोक बस्ने १९ वर्षीय विश्वास धिमाल समेत ३ जनालाई अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब २१ ग्रामसहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले धिमालको घरबाट उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो। कैलाली, गोदावरी नगरपालिका-५ गेटाबाट अवैध लागूऔषध अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ४ ग्राम ८३० मिलिग्राम, प्रोक्सिब्यान्ड स्पास नामक ट्याब्लेट १६ थानसहित सोही नगरपालिका-७ बस्ने २८ वर्षीय पदम साउँद समेत २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी गेटाबाट खटिएको प्रहरीले प्रदेश २-०३-००५ प ८२२५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो। पर्सा, वीरगंज महानगरपालिका-१५ प्रतिमा चोकबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ९० ट्याब्लेट, एकसय एमएलको वानरेक्स ५ बोतल र लागूऔषध चरेस जस्तो देखिने खैरो पदार्थ ८० ग्रामसहित मकवानपुर हेटौंडा उपमहनागरपालिका-११ बस्ने ३१ वर्षीय बिकी बिकलाई गएराति प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले ना.७ प ६८१४ नम्बरको मोटरसाइकल चालक बिकलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो। बारा, सिम्रौनगढ नगरपालिका-१ ढाटटोलाबाट अवैध लागूऔषध गाँजा ३० केजी गएराति प्रहरीले बरामद गरेको छ। ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरी टोलीलाई देख्नासाथ नेपालबाट भारततर्फ जाँदै गरेका व्यक्तिहरूले उक्त लागूऔषध फाली फरार भएपश्चात प्रहरीले उक्त गाँजा बरामद गरेको हो। हाल फरार व्यक्तिको प्रहरीले खोजी गरिरहेको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
आजको मौसमः तुवाँलो, हावाहुरी र बर्षाको सम्भावना थप सामग्री काठमाडौं। हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागहरुको मौसम समान्यतया सफा रहेको छ। दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखी सामान्यतया मौसम सफा रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरुमा तथा बागमती र कोशी प्रदेशका पहाडी भू-भागका एक वा दूई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का र क्षणिक वर्षाको संभावना रहेको छ। तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ। साथै उपत्यका लगायत देशका धेरै भू-भागहरुमा तुवाँलोको संभावना रहेको छ। राति भने देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने छ।
अन्नपूर्ण हिमालमा भारतीय आरोही बेपत्ता म्याग्दी। म्याग्दीस्थित अन्नपूर्ण हिमाल आरोहणका क्रममा एक जना भारतीय आरोही बेपत्ता भएका छन्। आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको दोस्रो आधार शिविर नजिकैबाट सोमबार दिउँसो ती आरोही बेपत्ता भएका हुन्। भारतको राजस्थानको किशनगढका ३४ वर्षीय अनुराग मालु बेपत्ता भएका सेभेट समिट टे«क्सका प्रबन्धक थानेश्वर गुरागाईँले बताए। “आरोहण सफल नभएपछि आधार शिविरमा फर्कने क्रममा चिप्लिएर लडेर बेपत्ता भएको खबर आएको छ”, उनले भने, “खोजी जारी राखे पनि भेटिएका छैनन्।” मालु सेभेन समिट टे«क्समार्फत अन्नपूर्ण आरोहणका लागि गएका थिए। मालु आठ हजार मिटरभन्दा अग्ला विश्वका १४ वटै हिमालको आरोहण लक्ष्यका साथ अन्नपूर्णको आरोहणका लागि आएका हुन्। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने अन्नपूर्ण हिमालमा शनिबारदेखि चालु वसन्त ऋतुको आरोहण शुरु भएको थियो।
मुसहर टोलमा आगलागी हुँदा आठ घर जलेर नष्ट धरान । कोशी गाउँपालिका हरिपुर–७ वडास्थित मुसहरटोलमा भएको आगलागीबाट आठ घर जलेर नष्ट भएका छन् । आज दिउँसो भएको आगलागीबाट स्थानीयवासीको लत्ताकपडा, भाँडाकुँडा र भएका अन्न जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट घर जलेर नष्ट भएपछि आठ घरका ३४ परिवार विस्थापित भएको नेकपा (एमाले) कोशी गाउँ कमिटीका अध्यक्ष रामखेलन साहले जानकारी दिए । उनका अनुसार हरेराम सदाका चार, शिवनारायण सदाका पाँच, जगदीश सदाका छ, दिनेश सदाका तीन, सुनिता सदाका तीन, चन्द्रदेव सदाका तीन, बेचन सदाका छ र सुरज सदा चार सदस्यीय परिवार आगलागीबाट विस्थापित भएका छन् । उनीहरूलाई आजको रात काट्न त्रिपाल र भुजा चिउराको व्यवस्था गरिएको अध्यक्ष साहले जानकारी दिए ।
पहिलो पटक बस आउँदा अविर जात्रा तनहुँ । व्यास नगरपालिका–११ घाँसीकुवादेखि भानु नगरपालिका–७ चन्द्रावती जोड्ने बागेश्वरी मोटरमार्गमा सोमबार पहिलो पटक बस पुगेपछि स्थानीयले खुसियालीमा अविर जात्रा गरेका छन् । विसं २०४८ मा सुरु गरिएको उक्त मोटर मार्गमा पहिलो पटक ना ६ ख ४१३६ नम्बरको बस लगिएपछि बस चालक किशोर गुरुङ, बागेश्वरी मोटर मार्गका संस्थापक अध्यक्ष हरिबहादुर खड्का, मोटरमार्गका अध्यक्ष विवेक भट्टराई लगायतलाई स्थानीयले अविर जात्रासहित स्वागत गरेका हुन् । यस मार्गमा सवारी साधन सञ्चालन नहुँदा दमौली आउन घण्टौँ पैदल हिँड्नुपर्ने अवस्था रहेको भानु नगरपालिका–६ स्थित बागेश्वरी आमा समूहकी अध्यक्ष विन्दु वाग्लेले बताइन् । “यस मोटरमार्गमा सवारी साधन नचल्दा हामीलाई बिरामी लिएर अस्पताल जान पनि समस्या थियो”, वाग्लेले भनिन्, “अब नियमित बस चल्ने भएपछि खुसियालीमा अविर जात्रासहित स्वागत गरेका हौँ ।” चन्द्रावतीदेखि पड्केपसल, बरभञ्ज्याङ, मान्द्रे, ठुलोचौर र मुलपानीका सयौँ स्थानीय बाटोमा भेला भई बसलाई अविर जात्रासहित स्वागत गरेका थिए । यस मोटरमार्गमा पहिलो पटक बस सञ्चालन गरिएपछि स्थानीयले आफूलाई अविर जात्रासहित स्वागत गर्दा हौसला मिलेको बसका चालक किशोर गुरुङले बताए । आफूहरुले करिब ३० वर्षअघि खन्न सुरु गरेको उक्त मार्गमा नियमित बस सञ्चालन हुनुले स्थानीयलाई ठूलो राहत पुगेको उक्त मोटर मार्गका संस्थापक अध्यक्ष हरिबहादुर खड्काले बताए । “यस मार्गमा नियमित सवारी साधन नहुँदा प्रशासनिक कामले दमौली जानुपर्दा घण्टौँ हिँड्नुपर्ने अवस्था थियो”, खड्काले भने, “अब भने दैनिक बस सञ्चालन हुने भएपछि भने स्थानीयलाई निकै राहत हुने भयो ।” घाँसीकुवादेखि भानु नगरपालिका–६ पड्के पसलसम्म १४ किलोमिटरसम्म बागेश्वरी मोटर मार्ग पर्दछ । तर थप नौ किलोमिटर पक्की सडकखण्ड हुँदै बसलाई दैनिक चन्द्रावतीदेखि दमौली र दमौलीदेखि चन्द्रावतीसम्म गरिने बागेश्वरी मोटर मार्ग उपभोक्ता समितिले जनाएको छ । उक्तमार्गमा बस सञ्चालन हुनुअघि चन्द्रावतीदेखि डुम्रे हुँदै दमौली जानुपर्ने अवस्था थियो । चन्द्रावतीदेखि डुम्रे हुँदै दमौली पुग्न ३४ किलोमिटर तय गर्नुपर्नेमा यस मार्गबाट २३ किलोमिटर मै दमौली पुगिन्छ । पृथ्वी राजमार्ग बस सञ्चालक समितिसँग समन्वय गरी बस सञ्चालन गरिएको र भाडा दर न्यूनतम तोकिएको उक्त मोटर मार्गका अध्यक्ष विवेक भट्टराईले बताए । स्थानीय नेता गोविन्द भट्टराईको पहलमा मार्ग स्तरोन्नति गरिएपछि बस सञ्चालनमा सहज भएको उनले बताए । “यस मार्गमा वर्ष भरी नै सवारीसाधन सञ्चालन गर्ने गरी व्यवस्था गरेका छौँ”, अध्यक्ष भट्टराईले भने, “बस सञ्चालन गरिएपछि स्थानीयलाई निकै ठूलो राहत भएको छ ।” उक्त मार्गमा दैनिक बस बिहान चन्द्रावतीबाट छुट्ने र मध्याह्न ४ बजेतिर दमौलीबाट फर्किने व्यवस्था गरिएको उनले जानकारी दिए ।
कमाण्ड तथा स्टाफ तालिममा छ विदेशीसहित ६२ सहभागी काठमाडौं। शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा ३०औँ समूहको कमाण्ड तथा स्टाफ तालिम आजदेखि सुरु भएको छ। बलाध्यक्ष रथी सिताराम खड्काले शुभारम्भ गर्नुभएको तालिममा छ विदेशीसहित ६२ अधिकृत सहभागी रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। मध्यम तहका अधिकृत स्टाफ तथा नेतृत्व क्षमता विकास गर्न महत्वपूर्ण मानिएको तालिममा सेनाका एक महिलासहित ५३, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका तर्फबाट एक÷एक अधिकृत सहभागी छन्। भारत, पाकिस्तान, केन्या, कोरिया, माल्दिभ्स र नाइजेरियाका एक÷एक जना प्रशिक्षार्थी तालिममा सहभागी छन् । सेनाको उच्च तहसम्म पुग्न यो तालिम अनिवार्य मानिँदै आएको छ। कलेजले विसं २०५० भदौ २० गते १२ शिक्षार्थी अधिकृत समावेश गरी पहिलो पटक कमाण्ड तथा स्टाफ तालिम शुभारम्भ गरेकोमा सन् २०१० बाट विदेशी शिक्षार्थी सहभागी गराइँदै गएको छ। कलेजबाट हालसम्म सेनाका एक हजार एक सय २०, नेपाल प्रहरीका १४, सशस्त्र प्रहरी बल नेपालका २६, राष्ट्रिय अनुसन्धान विभागका १७, रक्षा मन्त्रालयका एक र विदेशी १०८ शिक्षार्थी अधिकृत प्रशिक्षित भइसकेको निर्देशनालयले जनाएको छ। तालिम शुभारम्भका अवसरमा रथी खड्काले प्रविधिको विकाससँगै विविध क्षेत्रमा भइरहेको तीव्र एवं व्यापक परिवर्तनले सुरक्षा चुनौतीमा वृद्धि भएकाले त्यसलाई सामना गर्न तयार रहनुपर्ने बताए। कलेजका शिक्षाधिकृत उपरथी सन्तोषकुमार ढकालले परम्परागत सैनिक कारबाहीलगायत सेनाले निर्वाह गर्नुपर्ने बहुआयामिक जिम्मेवारीका लागि योजना तथा कार्यान्वयन सक्ने जनशक्ति तयार गर्न तालिममा विविध विषयवस्तु समेटिएको जानकारी दिए।
हेमा जोशीः समाजशास्त्रमा स्वर्ण, आधा दर्जन पुस्तक लेखन महेन्द्रनगर। कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयबाट नेपाली र समाजशास्त्रमा स्नातकोत्तर गरेकी भीमदत्त नगरपालिका–१८ का हेमा जोशीले दुई वर्षमा सोही विश्वविद्यालयमा अध्यापन हुने आधा दर्जन पुस्तक लेखेकीछन् कम उमेरमै विद्यावारिधिमा अनुसन्धानरत (नेपाली शिक्षा) रहेकी २६ वर्षीया विद्यार्थी उनले दुई वर्षमा आठवटा पुस्तक लेखिसकेकोे बताइन्। केही दिनअघि समाजशास्त्रमा विश्वविद्यालयको दीक्षान्त समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाटस्वर्ण पदकसमेत प्राप्त गरेकी जोशीले विद्यावारिधिपछि शैक्षिक क्षेत्रमै सक्रिय हुने योजना रहेको बताइन्। सामान्य पारिवारिक अवस्थाकी जोशीले ‘नेपाली भाषा शिक्षा’ सहलेखन पहिलो पुस्तक दुई वर्षअघि लेखेको जानकारी दिइन्। अहिले उनको ‘सामाजिक संस्था र प्रक्रियाहरुको विश्लेषण पुस्तक’ स्नातकोत्तर तहमा अध्यापन हुन्छ । जोशीले भनिन्, “ती पुस्तकबाट १५ देखि २० प्रतिशत रोयल्टीबापत पारिश्रमिक मिल्छ।” उनले लेखेभएको ‘भाषा सञ्चार र प्रविधि’, उक्त विश्वविद्यालयको स्नातक तहको आठौँ सेमिष्टरमा अध्यापन हुन्छ। अध्ययन र पुस्तक लेखनसँगै भविष्यमा विद्यावारिधि सकेर शिक्षण पेसामा सक्रिय रहने योजना जोशीले बनाएकी छिन्। उनी प्रवीणता प्रमाणपत्र तहमा अध्ययनरत हुँदा खेलकुद क्षेत्रमा पनि अब्बल थिइन्। सुदूरपश्चिम विश्वविद्यालयबाट चारवटा प्रधानमन्त्री कप ब्याडमिन्टन प्रतियोगिता खेलेको अनुभव जोशीले सुनाइन्। “ ब्याडमिन्टनमा एकलतर्फ रजत पदकसम्म जितँे”, उनले भनिन्, “कोरोनाका अवधिमा अम्पायरको तालिम पनि लिए।” अध्ययनमा अब्बल उनले आफूलाई निजी विद्यालयबाट शिक्षण पेसाका लागि मौकाहरु आएको जानकारी दिइन्। “जागिरको अफर आएको थियो”, जोशीले भनिन्, “अझै पनि पुस्तक लेखनलाई नै निरन्तरता दिन्छु ।” नेपाली सेनाको जम्दार पदबाट सेवानिवृत्त बुवा र गृहिणी आमाकी छोरी उनले कक्षा १० सम्मको अध्ययन लक्ष्मी मावि खैरभट्टीबाट र उच्च माध्यमिक शिक्षा तत्कालीन सिद्धनाथ बहुमुखी क्याम्पसबाट गरेकी थिइन्। भाषा शिक्षकको पेसागत उन्नयनको अवधारणा (सहलेखन २०७९), नेपाली भाषा र साहित्य शिक्षण (सहलेखन २०७९) प्राज्ञिक लेखन (एकल २०७९), भाषा सञ्चार र प्रविधि (एकल २०७९)सहित आधा दर्जनभन्दा बढी पुस्तकहरु प्रकाशित छन्। जोशीका नेपाली भाषा, साहित्य, भाषा, शिक्षण, लोकसाहित्यलगायत क्षेत्रमा अनुसन्धात्मक समसामयिक सन्दर्भ तथा विज्ञ समीक्षित लेखहरु तथा साहित्य विषयक लेखहरु प्रकाशित छन्। विश्वविद्यालयको दीक्षान्त समारोमा केन्द्रीय क्याम्पसका जोशीसँगै आठजना दीक्षित भएकामा दुई छात्रा र छ छात्र थिए।
राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य परीक्षण गराएर निवास फर्किएका छन्। स्वास्थ्यमा समस्या देखिएपछि उनी उपचारका लागि आज त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज गएका थिए। उपचारका क्रममा चिकित्सकहरूले राष्ट्रपति पौडेलको बायाँ छातीको तल्लो भागको भिडियो एक्सरे गरी परीक्षण गरेको उनको सचिवालयले जनाएको छ। उपचारमा सम्लग्न चिकित्सकका अनुसार उनको स्वास्थ्य अवस्था हाल सामान्य रहेको छ।
‘वैशाख ७ गतेको सूर्यग्रहण नेपालबाट देखिँदैन’ काठमाडौं। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यही वैशाख ७ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नलाग्ने जनाएको छ। वैशाख कृष्ण औँसीका दिन वैशाख ७ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नेपालीलाई नलाग्ने र बार्नु पनि नपर्ने समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए। यस वर्ष वैशाख ७, असोज २७ र चैत २६ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले तीन वटै सूर्यग्रहण बार्नु नपर्ने उनले बताए। तीन वटै सूर्यग्रहणको दोष नेपालीलाई लाग्दैन। कात्तिक ११ गते लाग्ने चन्द्रग्रहण भने नेपालबाट देखिन्छ। यसमा भने दोष लाग्ने भएकाले बार्नुपर्छ। वैशाख ७ गते लाग्ने सूर्यग्रहण चीन, मङ्गोलियालगायत देशबाट देखिने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले बताए।
ईटाली, दक्षिण कोरिया लगायतका देशहरूमा पठाईदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ काठमाडौँ। वैदेशिक रोजगारीको लागि ईटाली, दक्षिण कोरिया, न्युजिल्याण्ड तथा पोर्चुगल लगायतका देशहरूमा पठाईदिन्छु भन्दै नगद ६६ लाख ३७ हजार रूपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२६ टाउनप्लानिङस्थित ग्रिनलिफ इन्टरनेशनल कन्सलटेन्सी प्रालि र काठमाडौं ठमेलस्थित नेपाल स्नोफल माउण्टेन्स ट्रेक एण्ड एक्सपेडिसन प्रालिका संचालक कालीकोट सान्नी त्रिवेणी गाउँपालिका-५ घर भएका २८ वर्षीय सुधन कुमार शाही र मेनेजिङ डाईरेक्टर सोलुखुम्बु सोलु दुधकुण्ड नगरपालिका-१ घर भई हाल काठमाडौं टोखा नगरपालिका ग्रिनल्याण्ड बस्ने ३१ वर्षीय अनिल श्रेष्ठ रहेका छन् । उनीहरूले २२ जना पीडितलाई सम्बन्धित देशहरूमा पुगेपछि प्रतिष्ठित कम्पनीमा काममा लगाईदिन्छु, मासिक १ लाख रुपैयाँ भन्दा बढी कमाई हुन्छ र प्रति व्यक्ति ५ लाख रूपैयाँ लाग्छ भन्दै प्रलोभनमा पारी पटकपटक गरी उक्त रकम ठगी गरेको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं सिनामंगलबाट पक्राउ गरेको हो। उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौमा पठाइएको छ।
ज्योतिष र कर्मकाण्डको ६ महिने प्रशिक्षण काठमाडौँ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले ६ महिने ज्योतिष र कर्मकाण्ड प्रशिक्षण सुरु गरेको छ।  चैत अन्तिमदेखि सुरु भएको ज्योतिष प्रशिक्षणमा ४० र कर्मकाण्ड प्रशिक्षणमा २२ प्रशिक्षार्थी रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए। ज्योतिष र कर्मकाण्ड क्षेत्रमा दक्ष जनशक्ति तयार पार्न समितिले आर्थिक वर्ष २०६६/२०६७ देखि प्रशिक्षण सुरु गरेको हो। हाल प्रशिक्षण समितिको कार्यालयस्थित नारायणहिटी दरबार सङ्ग्रहालय परिसरको भवनमा सञ्चालन भइरहेको छ। बेलुकी ४ बजेदेखि ६ बजेसम्म प्रशिक्षण सञ्चालन हुने गर्छ। ६ महिनामा सामान्य फलादेश र कर्मकाण्ड गर्न सक्ने जनशक्ति तयार गर्ने गरी समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको कार्यक्रममा प्रशिक्षण दिने गरिएको हो। प्रशिक्षणमा नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठका पूर्व र बहालवाला प्राध्यापकले प्रशिक्षण दिने गरेका छन्।
कपन क्षेत्रको डुबान समस्या समाधानका लागि अध्ययन हुँदै काठमाडाैं। कपन क्षेत्रमा बर्षाको समयमा हुने डुबानको समस्या समाधानका लागि अध्ययन शुरु भएको छ। काठमाडौं उपत्यका विकास प्राधिकरणले धोबीखोला करिडोर आयोजनालाई धोबीखोला करिडोर तथा कपन बुढानिलकण्ठ डुबान नियन्त्रण आयोजना नामाकरण गरेर सोही आयोजनामार्फत अध्ययन अघि बढाएको हो। कपन क्षेत्रमा डु्बानको समस्या रहेकामा समाधान र व्यवस्थापनका लागि के गर्न सकिन्छ भनेर अध्ययन भइरहेको आयोजनाका इञ्जिनियर सज्जन कुँवरले जानकारी दिए। उनले भने, “नामाकरण भएर परामर्शदातामार्फत अध्ययन शुरु भइसकेको छ। अध्ययनको निष्कर्षका आधारमा आबश्यक संरचना बनाउनुपर्ने छ।” त्यस क्षेत्रमा डुबानका कारण ढलको क्षमता नपुगेर हो भने त्यसको समाधान गरिने इञ्जिनियर कुँवरले बताए। ‘रिचार्ज वेल’, ‘रेन वाटर हारवेष्ट’ लगायत कुन उपाय अवलम्वन गरेर डुबान न्यूनिकरण हुनसक्छ त्यो गरिने उनको भनाइ छ। उनले भने, “आवश्यक हुँदा सडक निर्माण पनि हुनसक्छ।” कपन-बुढानिलकण्ठ क्षेत्रमा अध्ययन शुरु भएपनि आवश्यक निर्माणको काम आगामी आवमा मात्रै हुने आयोजनाले जनाएको छ। चालु आवमा निर्माणका लागि बजेट बिनियोजन भइसकेको छैन। गत असोज महिनामा निर्णय भएपछि अहिले अध्ययन अघि बढाइएको हो। “आगामी आर्थिक वर्षमा बजेट बिनियोजन भएपछि काम सुरु हुने उनको भनाइ छ। शङ्खमुलको दोभानबाट कपनसम्म धोबीखोलाको दुवैतर्फ करिडोर निर्माण गर्ने गरी शुरु भएको आयोजनाको कार्यक्षेत्र बिस्तार गरिएको हो। करिडोर निर्माण सकिँदै गर्दा कपन क्षेत्रको डुबानको समस्या समाधानको काम सोही आयोजनामार्फत अघि बढाउन लागिएको हो। उपत्यकाको मुख्य सडकको सवारी चाप व्यवस्थापन गर्ने उद्देश्ययले काठमाडौँ महानगरपालिकाले २०५९ साल वैशाखमा धोबीखोला करिडोरको निर्माण शुरु गरेको थियो । विसं २०६४ पुसदेखि प्राधिकरण (तत्कालिन काठमाडौँ उपत्यका नगर विकास समिति) ले निर्माण गर्दै आइरहेको छ। शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्रीहरुले सो करिडोरका विषयमा चासो देखाएर स्थलगत निरीक्षण गर्दै आएका छन्। पहिले झण्डै २४ किमी सडक निर्माण गर्ने गरी योजना शुरु भएपनि पछिल्लो समयमा कार्यक्षेत्र बिस्तार गरिएको छ।
दोगडाकेदारमा हत्या प्रकरणः स्थानीय युवक नै संलग्न रहेको आशंका बैतडी। बैतडीको दोगडाकेदार गाउँपालिका गाउँपालिका–८ का ३८ वर्षीय वासुदेव जोशीको हत्यामा सोही गाउँका युवा संलग्न रहेका पाइएको छ। जोशीको शनिबार राति ८ बजे गाउँ नजिकै धारिलो हतियार प्रहार गरी वीभत्सरुपमा हत्या गरिएको अवस्थानमा शव फेला गरेको थियो। उनको हत्याको खबर पाउनासाथ बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्री नेतृत्वको टोली घटनास्थलमा खटिएको थियो। घटनास्थलको प्रकृति हेर्दा जोशीमाथि धारिलो हतियार प्रहार गरी हत्या गरिएको खुल्न आएको प्रहरी निरीक्षक खत्रीले जानकारी दिए। जोशीको हत्या घटनामा गाउँकै युवा संलग्न रहेको र ती युवकको नाम गोप्य राखिएको छ। संलग्न ती युवकले बाटो ढुकेर शनिबार राति करिब ८ बजेतिर धारिलो हतियार प्रहार गरेर जोशीको हत्या गरेको स्थानीय बासिन्दालाई उद्धृत गर्दै प्रहरीले जनाएको छ। पुरानो रिसिइबीका कारण ती युवकले जोशीको हत्या गरेका हुनसक्ने जनाइएको छ। केही महिना अगाडि मात्रै जोशी र हत्यामा संलग्न ती युवकका परिवारबीचको विवाद जिल्ला प्रहरी कार्यालयमा पुगेर मिलापत्र गराइएको खुल्न आएको छ। सोही पुरानै विवादका कारण अहिले पनि घटना हुन पुगेको प्रहरीको आशङ्का छ। संलग्न रहेका भनिएका युवक घटनालगत्तै फरार रहेका छन्। फरार ती युवकको खोजी जारी रहेको र छिट्टै नियन्त्रणमा लिने प्रहरी निरीक्षक खत्रीको दाबी रहेको छ। उनको खोजीका लागि जिल्ला र जिल्ला बाहिर तथा सीमानाकामा हुलियासहित पठाइएको छ। प्रहरी निरीक्षक खत्रीले भने, “फरार ती युवकको फोन लोकेशनलगायतका आधारमा खोजी जारी छ। छिट्टै नियन्त्रणमा ल्याउँछौँ।” हत्या फरार रहेका ती युवकको मात्रै नभएर घटनामा अन्य पनि संलग्न हुनसक्ने अनुमान प्रहरीको छ। जोशीको शव परीक्षणका लागि जिल्ला अस्पताल बैतडीमा राखिएको छ।
वैशाखभर भर्ना अभियान सञ्चालन काठमाडाैं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिकसत्र २०८० का लागि यही वैशाखभित्र विद्यालय तहको भर्ना सम्पन्न गर्ने गरी अभियान सञ्चालन गर्न स्थानीय तह, र विद्यालयहरूलाई आह्वान गरेको छ। ‘समयमै भर्ना, समयमै ज्ञान : गुणस्तरीय शिक्षा, सबैको अभियान’ भन्ने आदर्श वाक्यसहित शैक्षिकसत्र २०८० को विद्यार्थी भर्ना कार्यक्रम सञ्चालन गर्न मन्त्रालयमातहतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पत्राचार गरेको हो। केन्द्रले यसका लागि गत चैत २६ गते सबै शिक्षा विकास तथा समन्वय एकाइ, स्थानीय तह र विद्यालयलाई पत्राचार गरिसकेको छ। अभियानका सन्दर्भमा गत चैत ३० गते शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको उपस्थितिमा मन्त्रालयमा जिल्ला समन्वय समिति महासंघ नेपाल, नेपाल नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघ नेपालका प्रमुख एवं पदाधिकारी र मन्त्रालयका अधिकारीहरूबिचको छलफलले संघ, प्रदेश एवं स्थानीय तहबाट संयुक्तरूपमा शैक्षिकसत्र २०८० को मा विद्यालय उमेर समूह (पाँच वर्ष माथि) का सबै बालबालिकालाई विद्यालयमा ल्याउन विद्यार्थी भर्ना कार्यक्रम सञ्चालन गर्न निर्णय गरेको हो। मन्त्रालयका प्रवक्ता दीपक शर्माले शैक्षिकसत्रमा सुरुमै सबै सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउन जनक शिक्षा सामग्री केन्द्र र निजी क्षेत्रका छनोट भएका छापाखानालाई आग्रह गरिएको बताए। सोको अनुगमन स्थानीय तहबाट हुनेछ। निजी विद्यालयको शुल्क निर्धारण पनि स्थानीय तहबाट हुनेछ।
हाम्रो पेमा जोडियो हाम्रो रेमिट, विदेशबाट पठाएको रेमिट्यान्स आधा घण्टाभित्र वालेटमा जम्मा हुने काठमाडौँ। हाम्रो पात्रो अन्तर्गतका हाम्रो पे र हाम्रो रेमिट दुवै सेवा आपसमा जोडिएका छन्। यससँगै नयाँ वर्ष २०८० को वैशाख १ गतेदेखि हाम्रो रेमिटबाट पठाएको रेमिट्यान्स हाम्रो पे वालेटमा प्राप्त गर्न सकिने भएको छ। हाम्रो पात्रो रेमिटबाट हाम्रो पे मा पैंसा पठाउदा वालेटमा रु. १०० बोनस पाउनुहुनेछ भने यो अफर बैशाख ७ गते सम्म मान्य हुनेछ। सेप्टेम्बर २०२१ मा सुरु भएको हाम्रो रेमिटको सहयोगमा हाल अमेरिकाबाट नेपाल पैसा पठाउन सकिन्छ। अब आउँदो मे महिनादेखि अस्ट्रेलियामा रहेका नेपालीले समेत हाम्रो रेमिटको सेवा प्रयोग गर्न पाउनेछन्। हाम्रो पात्रोका अनुसार यदि अमेरिकामा रहेका नेपालीले कार्ड प्रयोग गरी हाम्रो पात्रो मार्फत पैसा पठाएको खण्डमा आधा घण्टाभित्रै हाम्रो पेको वालेटमा जम्मा हुनेछ। अन्य रेमिट्यान्स कम्पनीबाट पठाएको पैसा समेत यसैगरी हाम्रो पेमार्फत प्राप्त गर्न सकिने व्यवस्था मिलाउने कार्य चलिरहेको छ। गत फागुन ५ गते सार्वजनिक भएको हाम्रो पे डिजिटल वालेट हाम्रो पात्रोको एपमै उपलब्ध छ। यसको छुट्टै मोबाइल एप छैन। सुपर एप बनाउने उद्देश्यका साथ विभिन्न सेवाहरूलाई हाम्रो पात्रोमै जोड्दै लगिरहेको हो। हाम्रो पेमा मोबाइल टपअप, नेपाल पे क्यूआरमा जोडिएका मर्चेन्टको भुक्तानी, विद्युत, खानेपानी, टिभी तथा इन्टरनेटको बिल भुक्तानी लगायतका सुविधाहरू रहेका छन्। मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ तथा कनेक्ट आईपीएसबाट सहजै रकम लोड गर्न सकिने यो एपमा साथीहरूसँग मिलेर बिल तिर्न मिल्ने ‘स्प्लिट मनी’, सापटी माग्न सकिने ‘आस्क मनी’का साथै अङ्ग्रेजी र नेपालीका साथै विभिन्न छ ओटा भाषामा प्रयोग गर्न सकिने फिचर समेत रहेका छन्। यस बाहेक हाम्रो पेमार्फत भएको खर्च ट्रयाक गर्न र कुन शीर्षकमा कति रकम खर्च भयो भन्ने कुराको विश्लेषण गर्न, खर्चको सीमा तय गर्न पनि सकिन्छ। कम्पनीले ग्राहकको सहजताका लागि लाइभ च्याट सपोर्टको व्यवस्था गरेको छ।
३० औं वार्षिकोत्सवको अवसरमा काठमाडौँमा नर्भिकको प्रभातफेरि काठमाडौँ। थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो ३० औं वार्षिकोत्सवको अवसरमा आज(आइतबार) काठमाण्डौमा प्रभातफेरि कार्यक्रम आयोजना गरेको छ। देशमा गुणस्तरीय र विश्वस्तरीय स्वास्थ्य सेवाको जग बसालेको नर्भिक इन्टरनेशनल हस्पिटलले थापाथलीस्थित अस्पताल क्षेत्रबाट प्रभातफेरि कार्यक्रमको सुरुवात गरेको थियो। त्रिपुरेश्वर, भद्रकाली, माइतीघर हुँदै प्रभातफेरि पुनः नर्भिक अस्पतालमै आएर टुंगिएको थियो। प्रभातफेरिमा नर्भिक अस्पतालका उच्च व्यवस्थापनका अधिकारी, चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो। प्रभातफेरिमा सहभागीहरुले विभिन्न स्वास्थ्यसँग सन्देशमूलक नारा लेखिएका प्लेकार्डहरु बोकेका थिए। नर्भिकले आफ्नो वार्षिकोत्सव विभिन्न कार्यक्रमको आयोजना गर्दै भव्यतापूर्वक मनाइरहेको छ। भोलि(सोमबार) अस्पताल परिसरमै वार्षिकोत्सवको अवसरमा वृहत रक्तदान कार्यक्रम पनि राखिएको छ। यसैबीच, नर्भिक अस्पतालले ३० औं वार्षिकोत्सवका अवसरमा विभिन्न अफरहरु पनि सार्वजनिक गरेको छ। वार्षिकोत्सवको अवसरमा अस्पतालका सबै स्वास्थ्य प्याकेजमा बैशाख १ गतेदेखि बैशाख ८ गतेसम्म एकसाताका लागि ३० प्रतिशत छुटको घोषणा गरिएको छ। यसैगरी, लेजर र हाइड्रा फेसियलमा ३० दिनका लागि ३० प्रतिशत छुट, आइभिएफ(फर्टिलिटी प्याकेज) ३० दिनका लागि ३० प्रतिशत छुट, म्यामोग्राफीमा ३० दिनका लागि ३० प्रतिशत छुट समेत उपलब्ध रहेको अस्पतालले जनाएको छ। अस्पतालले पत्रकार परिवारका लागि समेत विशेष हेल्थ प्याकेज ल्याइने यसअघि नै घोषणा गरिसकेको छ। वार्षिकोत्सवकै अवसर पारेर अस्पतालले काठमाण्डौभित्र र बाहिर गरी ४ वटा विशेष स्वास्थ्य शिविर समेत आयोजना गर्दैछ।
पिउरी दोभानमा जीप दुर्घटनाः चालकको मृत्यु, सात घाइते दमाैली। पृथ्वी राजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका-१२ पिउरी दोभानस्थित भित्री कच्ची सडकखण्डमा आइतबार साँझ जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा सात यात्रु घाइते भएका छन्। मृत्यु हुनेमा स्याङ्जाको पुतलीबजार नगरपालिका-६ बस्ने ३९ वर्षीय कुलबहादुर सुनार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए। दुलेगौडाबाट पिउरी दोभानतर्फ जाँदै गरेको ग१ज ७९४२ नम्बरको जीप अनियन्त्रित भई सडकबाट एक सय आठ फिट तल खस्दा चालकको घटनास्थलमै मृत्यु भएको हो। जीप दुर्घटनामा शुक्लागण्डकी नगरपालिका-१२ बस्ने २१ वर्षीया मोतीकला भुजेल, सोही ठाउँ बस्ने ३५ वर्षीया बबिता भुजेल, ३१ वर्षीया कल्पना भुजेल, आठ वर्षीय आरभ भुजेल, ९ वर्षीया रुसिका थापा, ३० वर्षीया तिलकुमारी थापा र २७ वर्षीया हेमकुमारी भुजेल घाइते भएका छन्। घाइतेमध्ये मोतिकलाको शुक्लागण्डकी नगरपालिका-५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको छ भने अन्य घाइतेको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको छ।
आजको मौसम : गण्डकी र कर्णालीमा क्षणिक वर्षा, तराईमा हावाहुरी काठमाडौं। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले सोमबार गण्डकी र कर्णालीमा क्षणिक वर्षा र तराई क्षेत्रमा हावाहुरीको सम्भावना रहेको जनाएको छ। सोमबार दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रहने र बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहने महाशाखााले जनाएको छ। महाशाखाका अनुसार देशका गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरु र बाँकी पहाडी भू-भागका एक-दुई स्थानहरुमा मेघ गर्जन/चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। साथै तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ। सोमबार राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।
भारतीय लगानीका अलपत्र ठेक्का तोड्ने विषयमा छलफल काठमाडौँ। भारतीय निर्माण कम्पनीले लामो समयसम्म अलपत्र पारेका योजना तोड्ने विषयमा भारतीय पक्षसँग छलफल भएको छ। समस्याग्रस्त छ–सात ठेक्का तोड्ने विषयमा छलफल भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ। भारतीय लगानीका र भारतीय कम्पनीले जिम्मेवारी लिएर लामो समय काम नगरी अलपत्र पारेका ठेक्काका विषयमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवबीच छलफल भएको हो। उनीहरूबीच लामो समयदेखि अलपत्र योजना तोड्ने विषयमा छलफल भएको मन्त्रालयका सचिव केशव शर्माले जानकारी दिए। सचिव शर्माका अनुसार बथनाहा–विराटनगर रेल सञ्चालन र रक्सौल–काठमाडौँ रेलमार्ग निर्माण विषयमा पनि कुराकानी भएको थियो। भारतीय एक्जिम बैंकको लगानीमा विभिन्न योजना निर्माणाधीन छन्। ती योजना भारतीय निर्माण कम्पनीले लामो समयदेखि निर्माण सम्पन्न गरेका छैनन्। दाङको लमही–घोराही सडकखण्डको जिम्मा भारतीय कम्पनीले लिएको थियो। सडक निर्माण अलपत्र परेपछि ठेक्का तोड्ने मनसायमा नेपाल र भारत दुवै पुगेका छन्। मन्त्री ज्वाला र राजदूत श्रीवास्तवबीच रक्सौल–काठमाडौँ रेल सेवा निर्माणका विषयमा पनि कुराकानी भएको छ। सो रेलमार्गलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ। भेटमा नेपाल–भारत सीमामा रहेका रेलमार्गका विषयमा पनि काराकानी भएको छ। बथनाह–विराटनगर, न्यू जलपाइगुडी–काँकडभिट्टा, जोगबनी–विराटनगर, जयनगर–जनकपुर, नौतनवा–भैरहवा, रुपैडिया–नेपालगञ्ज क्रस बोर्डर रेल सेवाका विषयमा कुराकानी भएको सचिव शर्माले जानकारी दिए।
भाजपा विदेश विभाग प्रमुख चौथाइवाले नेपालमा काठमाडौं। भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपाल आइपुगेका छन्। सुदूरपश्चिम प्रदेशमा शनिबारदेखि सुरु भएको अन्तर्राष्ट्रिय मानसखण्ड सम्मेलनमा भाग लिन चौथाइवाले सडकमार्ग हुँदै आज धनगढी आइपुगेका हुन्। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले चौथाइवालेलाई धनगढीमा स्वागत गरेका हुन्। चौथाइवालेले सोमबार मानसखण्ड सम्मेलनलाई सम्बोधन गर्ने र भोलि नै काठमाडौँ पुगेर उच्च राजनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको तयारी भइरहेको बेला चौथाइवाले नेपाल आएका हुन्।
बिस्केट जात्राका अवसरमा टोखामा बिदा काठमाडौं। टोखा नगरपालिकाले बिस्केट जात्राका अवसर पारेर सोमबार सार्वजनिक बिदा दिने भएको छ। टोखा नगरपालिकाको दशौँ कार्यपालिकाको बैठकले हरेक वर्ष मनाइने टोखाको ऐतिहासिक पर्व बिस्केट जात्राको उपलक्ष्यमा भोलि सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले जानकारी दिए। बिस्केट जात्राको उपलक्ष्यमा टोखा नगरपालिकाभित्रका वडा कार्यालय तथा स्वास्थ्य संस्था, विद्यालयहरू बन्द रहने प्रमुख अधिकारीले बताए। काठमाडौँ उपत्यकाको सबैभन्दा पुरानो जात्रा मानिने टोखाको बिस्केट जात्राको ऐतिहासिक महत्वसमेत रहेको छ। सामाजिक सद्भावका साथ मनाइने टोखाको बिस्केट जात्रामा विशेष खटमा सजाइएका गणेश, कुमारी, सपनतीर्थ, मसानकाली र चण्डेश्वरी लगायतका देवीदेवतालाई नारायण पोखरीमा स्नान गराउने चलन रहेको छ। यही वैशाख १ गतेदेखि सुरु भएको बिस्केट जात्राको अन्तिम दिन वैशाख ४ गते देवीदेवताहरूलाई आ–आफ्नो स्थानमा विराजमान गराउने चलन छ।
कार्यविधि संशोधन गर्दै दुई संस्थालाई फ्लाइङ स्कुल स्थापनाको अनुमति काठमाडौं। नेपालमै पाइलट उत्पादन गर्ने उद्देश्यले दुई फ्लाइङ स्कुलले अनुमति पाएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीका अनुसार शुभम् एभिएसन प्रालि र चन्द्र सूर्य एभिएसन प्रालिले फ्लाइङ स्कुल स्थापनाको अनुमति पाएका हुन्। कार्यविधिमा आवश्यक संशोधन गर्दै दुई फ्लाइङ स्कुललाई अनुमति प्रदान गरिएको हो। प्रक्रिया पूरा गरी आउने अन्य संस्थालाई पनि इजाजत प्रदान गरिने पर्यटनमन्त्रीले उल्लेख गर्नुभएको छ। नेपालमा पाइलट उत्पादन गर्ने संस्था नहुँदा नेपालीले अहिले फिलिपिन्स, अमेरिकासहितका मुलुकमा गएर पाइलट कोर्ष पूरा गर्ने गर्छन्।
एरोक्स १५५ः नेपालकै द्रुत गतिको अल्टिमेट स्कुटर बाइकिङ काठमाडौं। यामाहा मोटरसाइकल र स्कुटरको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले बहुप्रतिक्षित यामाहा एरोक्स १५५ अल्टिमेट स्कुटर बाइकिङ बिक्री वितरण सुरुवात गरेको छ। विशिष्ट र स्लीक एरोडायनामिक स्पोर्टी डिजाइनको साथ एरोक्स १५५ मा गति र शक्तिको सम्मिश्रण रहेको छ। प्रदर्शन, शैली र सवारी अनुभवका लागि यसले नयाँ मानक सिर्जना गर्नेछ। यामाहा एरोक्स १५५ मा लिक्विड कूल्ड इन्जिन रहेको छ, जसले यसलाई १२० किमी प्रतिघन्टाको उच्च गति भएको नेपालको सबैभन्दा छिटो स्कुटर बनाउँछ। यसको १५५ सीसीको “R” DNA इन्जिनले 15 ps पावर दिन्छ, जसले राइडरहरूलाई गति र शक्तिको उचित सन्तुलन अनुभूति प्रदान गर्दछ। अगाडिको एलईडी हेडलाइटहरूले रात्रि समयमा पनि उत्कृष्ट भिजिबिलिटि प्रदान गर्दछ भने पछाडिको टेल लाइटमा बाह्र कम्प्याक्ट एलईडीहरू छन् जसले बाइकको सौन्दर्यमा आधुनिकताको स्पर्श थप्दै थ्रीडीको आवरण दिन्छ। एरोक्स १५५ को ५.८ इन्च एलसीडी इन्स्ट्रुमेन्ट स्क्रिनले स्पीडोमिटर, RPM, र VVA सूचकहरू प्रदर्शन गर्दछ जसले सवारहरूलाई सडकमा हुँदा महत्त्वपूर्ण जानकारी ट्र्याक गर्न सजिलो बनाउँछ। स्कूटरमा Yamaha Y-Connect जडित छ जुन सवारको स्मार्टफोनमा सम्बन्धित एप मार्फत जडान गर्न सकिन्छ। यसले सवारहरूलाई मर्मतको समय, खराबीका सूचनाहरू, माइलेज, ब्याट्रीको स्तर र पार्किङ स्थानजस्ता कुराहरू ट्र्याक गर्न सहज बनाउँछ। स्पोर्टी डिजाइनको बावजुद यामाहा एरोक्स १५५ एकदमै फराकिलो छ र सिटमुनि २४.५ लिटरको स्टोरेज पनि उपलब्ध छ। यसले धेरै उन्नत प्रविधिहरू पनि प्रदान गर्दछ। जस्तै Variable Valve Actuation (VVA), इन्धन खपतमा सहयोग गर्ने खालको निष्क्रिय स्टप-स्टार्ट गर्ने विधी, र परिष्कृत सुरक्षाको लागि ABS सँग फ्रन्ट डिस्क ब्रेक। एरोक्स १५५ को गुणस्तरीय सामग्रीहरूले स्थायित्व र निर्भरता सुनिश्चित गर्दछ, जसले भरपर्दो र दीर्घकालीन स्वामित्व प्रदान गर्दछ। यामाहा एरोक्स १५५ तीन फरक रंगहरूमा उपलब्ध छ: रेसिङ ब्लू, ग्रे वर्मिलियन, र मेटालिक ब्ल्याकको मूल्य रु. चार लाख चौहत्तर हजार नौ सय रहेको छ। यसलाई ग्राहक महानुभावहरुले यामाहाको आधिकारिक शोरूमहरूबाट किन्न र बुक गर्न सक्नुहुनेछ। इच्छुक ग्राहकहरूले स्कूटरको थप विस्तृत विवरणका लागि यामाहाको आधिकारिक वेबसाइट ttps://www.maw2wheelers.com/ पनि हेर्न सक्छन्। विक्री प्रारम्भको अवसरमा एमएडब्लु इन्टरप्राइजेजका सीईओ राजु क्षेत्रीले भने, “एरोक्स १५५ नेपालको स्कुटर बजारमा नयाँ मोड हो। यसले नयाँ र अनुभवी राइडरहरु दुवैका लागि परफर्मेन्स, स्टाइल, राइडिङ एक्सपेरियनस लागि नयाँ स्ट्यान्डर्ड स्थापित गरेको छ। यामाहा एरोक्स १५५ को शक्तिशाली इन्जिन, अत्याधुनिक प्रविधि र आकर्षक डिजाइनका कारण नेपालका दुई पाङ्ग्रे सवारी साधन प्रेमीहरूले यसलाई राम्रोसँग स्वीकार गर्नेछन् भन्नेमा म विश्वस्त छु।”
कास्की मालपोतको घटना तत्काल छानविन गरेर रिपोर्ट पेश गर्न मन्त्री श्रेष्ठको निर्देशन काठमाडौं। भूमि व्यवस्था, सहकारि तथा गरिबि निवारण मन्त्री रन्जिता श्रेष्ठले मालपोत कार्यालय कास्कीको कर्मचारीहरुले आर्थिक चलखेल गरि सेटिङमा काम गर्ने गरेको कुरा तत्काल छानविन गर्न निर्देशन दिएकी छन्। आइतबार मन्त्री श्रेष्ठले भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक पद्म निधि सोतीलाई ठाडो निर्देशन दिएकी हुन्। केही दिनअघि मात्रै मालपोत कार्यालय कास्कीका कर्मचारीहरुले आर्थिक चलखेल गरि सेटिङमा काम गर्ने गरेको एक टेलिभिजन कार्यक्रमबाट सार्वजनिक भएको थियो। सोही घटनाको बिषयमा थप सत्यतथ्य छानविन गरि विभागिय कारवाही गर्न मन्त्री श्रेष्ठले निर्देशन दिएकी हुन्। ‘मैले नेतृत्व गरेको मन्त्रालय अन्तरगत हुने कुनै पनि अनियमितता, भ्रष्ट्रचार र गलत कामलाई म नजरअन्दाज गर्न सक्दिँन। जसरी मालपोत कार्यालय कास्कीको भिडियो मिडिया र सामाजिक सन्जालमा भाइरल भइहेको छ त्यस विषयमा तत्काल छानविन गरि रिपोर्ट बुझाउनु होला’, मन्त्री श्रेष्ठले महानिर्देशकलाई टेलिफोनमा भनिन्। मन्त्री श्रेष्ठले कास्की मात्रै हैन् अन्य जिल्लाको मालपोत तथा नापी कार्यालयहरूको अवस्था र समस्याका विषयमा अध्ययन गरि रिपोर्ट पेश गर्न निर्देशन दिइन्। मालपोत र नापी कार्यालयहरूमा सेटिङमा हुने अनियमितताको जालो आफ्नो नेतृत्वमा न्युनीकरण गर्ने उनले बताइन्।
बालकोटमा ढल विस्तार गर्दा पुरिएका दुईमध्ये एकको मृत्यु भक्तपुर। भक्तपुरको बालकोटमा नयाँ ढल बिस्तारको क्रममा पुरिएका दुई जनामध्ये एकजनाको मृत्यु भएको छ। पुरिएका दुईमध्ये बर्ष २२ को नितेश सदाको मृत्यु भएको भक्तपुर प्रहरी परिसरले जनाएको छ। ढलको काम भइरहेको अवस्थामा एक्कासी माटोको ढिस्को खस्दा सोही स्थानमा काम गरिरहेका उनीहरू पुरिएका थिए। जिल्लाको सूर्यबिनायक नगरपालिका वडा नम्बर २ बालकोटको रागीनी हाइटमा काम गरिरहेका उनीहरू पुरिएका हुन्। कौशलटारबाट सिरुटार जाने सडकको अन्दाजी २० मिटरभित्रको वस्तीमा काम भइरहेको हो। भक्तपुर प्रहरी परिसरका एसपी प्रजित केसीले घटना साँंझ चार बजे भएको जनाए। उनीहरुमध्ये सुनसरी गढी गाउपालिका –२ घर भई हाल भक्तपुर बालकोट वस्ने ३० वर्षीय सियाराम सदालाई साढे पाँंच बजे उद्धार गरी उपचारको लागि नजिकैको भक्तपुर इन्टरनेशनल अस्पताल लगेको उनले जनाए। उनी बोल्न सक्ने अवस्थामा रहेको उनले जनाए। सोही स्थानमा घर भई हाल बालकोटमै वस्ने ६ बजे रितेशको मृत्यु भएको हो। उनलाई अस्पताल लाने क्रममा बाटैमा मृत्यु भएको एसपी केसीले जनाए। घटनास्थलमा उनीहरूलाई काममा लगाउने सुनसरी गढी गाउपालिका–२ घर भई हाल भक्तपुर बालकोटमा रिङ कारखाना सञ्चालन गरी वस्ने ४६ वर्षीय रामदेव यादव एकासी बेहोस भई तत्काल एम्बुलेन्समा राखी भक्तपुर इन्टरनेशनल अस्पताल पठाइएको जनाइएको छ। उनको अवस्था सामान्य रहेको जनाइएको छ। उनी सुगर र प्रेशरको रोगी भएको पनि जनाइएको छ। खवर प्राप्त हुनासाथ प्रहरी हवल्दार प्रमिला कार्कीको टोली घटनास्थलमा खटिएको थियो। घटनास्थल वृत्त ठिमीबाट ४ किलोमिटर दक्षिण पश्चिममा पर्दछ। घटनाबारे विस्तृत विवरण आउन बाँंकी नै छ।
एमाले अध्‍यक्ष ओलीको स्वास्थ्यमा समस्या काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या आएको छ। अध्‍यक्ष ओलीले फेसबुमा स्टाटस लेख्दै आफूलाई भाइरल ज्वरोका कारण स्वास्थ्यमा समस्या आएको बताएका हुन्। ओलीले फेसबुकमा लेखेका छन्, ‘ भाइरल ज्वरोका कारण मेरो स्वास्थ्यमा केही समस्या आएको छ । अहिले म एन्टिबायोटिक औषधि खाएर निवासमै आराम गरिरहेको छु।’
८० वर्षीया वृद्धालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ धनगढी। कञ्चनपुरबाट प्रहरीले जबरजस्ती करणी आरोपमा एक जनालाई पक्राउ गरेको छ। ८० वर्षीया बृद्ध महिलालाई जबरजस्ती करणी गरेको आरोपमा दोधारा–चाँदनी नगरपालिका–७ टाउके टोलका ४० वर्षीय मुकेश क्षेत्री पक्राउ परेका हुन्। उनी शनिबार पक्राउ परेको प्रहरीले बताएको छ। क्षेत्रीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय दोधारा–चाँदनीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो। यस विषयमा थप अनुसन्धान भइरहेको छ।
बालकोटमै दुई जना ढलमा पुरिए भक्तपुर। भक्तपुरको बालकोटमा नयाँ ढल विस्तारको काम भइरहेको अवस्थामा एक्कासी माटोको ढिस्को खस्दा सोही स्थानमा काम गरिरहेका दुई जना कामदार पुरिएका छन्। सूर्यबिनायक नगरपालिका वडा नम्बर २ बालकोटको रागीनी हाइटमा कौशलटारबाट सिरुटार जाने सडकको अन्दाजी २० मिटरभित्रको बस्तीमा काम भइरहँंदा उनीहरू पुरिएको प्रहरीले जनाएको छ। साँंझ चार बजेपछि भएको घटनामा परेका उनीहरूको उद्धार कार्य जारी रहेको भक्तपुर प्रहरी परिसरका एसपी प्रजित केसीले जनाए। उनीहरूमध्ये सुनसरी गढी गाउपालिका –२ घर भई हाल भक्तपुर बालकोट बस्ने ३० वर्षीय सियाराम सदालाईको साढे पाँंच बजे उद्धार गरी उपचारको लागि नजिकैको भक्तपुर इन्टरनेशनल अस्पताल लगेको उनले जनाए। उनी बोल्न सक्ने अवस्थामा रहेको उनले जनाए। सोही स्थानमा घर भई हाल बालकोटमै बस्ने वर्ष २२ को नितेश सदाको उद्धार कार्य जारी रहेको एसपी केसीले जनाए। निजहरूलाई काममा लगाउने सुनसरी गढी गाउपालिका–२ घर भई हाल भक्तपुर बालकोटमा रिङ कारखाना संचालन गरी बस्ने ४६ वर्षीय रामदेव यादब एकासी बेहोस भई तत्काल एम्बुलेन्समा राखी भक्तपुर इन्टरनेशनल अस्पताल पठाइएको जनाइएको छ। उनको अवस्था सामान्य रहेको जनाइएको छ। उनी सुगर प्रेशरको रोगी भएको पनि जनाइएको छ। खबर प्राप्त हुनासाथ प्रहरी हवल्दार प्रमिला कार्कीको टोली घटनास्थलमा खटिई गएको जनाएको छ। साथै वृत्त ठिमीबाट प्रहरी नायब उपरीक्षक रबिन श्रेष्ठको कमाण्डमा १८ जनाको टोली खटिई उपलब्ध श्रोत साधनसमेतको सहयोगमा उद्धार कार्य जारी रहेको जनाइएको छ। घटनास्थल वृत्त ठिमीबाट ४ किलोमिटर दक्षिण पश्चिममा पर्छ। घटनाबारे विस्तृत विवरण आउन बाँंकी नै छ।
सेक्युरिटि प्रिन्टिङ प्रेस खरिदमा ६९ करोड भ्रष्टाचार, कार्यकारी निर्देशक पौडेलसहित ९ जनाविरुद्ध मुद्दा दर्ता काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशकसहित ९ जनाविरुद्ध भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ। कार्यकारी निर्देशक विकल पौडेलसँग ६९ करोड ८ लाख ८१ हजार ८५४ रुपियाँ बिगो माग दाबी गरिएको छ। आयोगका प्रवक्ता भोला दाहालका अनुसार, सुरक्षण मुद्रण केन्द्रका ९ जनाविरुद्ध भ्रष्टाचारको अभियोगमा आरोप पत्र दर्ता गरिएको हो। सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल, सि.डि.ई., इन्जिनियरिङ्ग मार्केटिंग कन्सर्न प्रा.लि., मेपटेक विल्डिंग सर्भिसेस प्रा.लि., परामर्शदाता वास्तुशिल्प एसोसिएट्स समेतका निर्देशक गरी ९ जना उपर गैरकानूनी लाभ तथा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर भएको हो। अख्तियारले सीडीई पोखरेलमाथि ४९ करोड ४६ लाख, सहायक निर्देशक पोखरेलमाथि २० करोड, शाखा अधिकृत महर्जनमाथि ३ करोड ४४ लाख, लेखा अधिकृत बुढामाथि १९ करोड ८८ लाख, शाखा अधिकृत उपाध्यायमाथि ४० करोड भ्रष्टाचार गरेको दाबी गरेको छ। त्यसैगरी रोहित मान प्रधानमाथि २३ करोड ४४ लाख, भुवन महर्जनमाथि ४३ करोड ५७ लाख, मिल लाल गुरौंमाथि ८ करोड ६९ लाख भ्रष्टाचार गरेको दाबी गरेको छ। सुरक्षण मुद्रण केन्द्रले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका क्रममा अस्वाभाविक लागत तयार गरी स्वीकृत गर्ने, खरिद सम्झौता विपरीत गुणस्तरहीन इलेक्ट्रिक ट्रान्सफर्मर स्वीकार गर्ने, सम्झौतामा उल्लेख भए भन्दा फरक देशमा उत्पादिक जेनेटेर स्वीकार गरी भुक्तानी गरेको अख्तियारको आरोप छ। त्यस्तै खरिद सम्झौता बमोजिम कामै नगरी संरचना संचालनवापत र आपूर्ति पछिको सेवावापत अग्रिम रुपमा बढी भुक्तानी दिने र आवश्यकता नै नरहेको र औचित्य पुष्टि हुन नसक्ने बल्क फ्युल ट्यांक सिस्टम खरिदबाट सरकारको सम्पत्ति गैरकानुनी रुपमा हिनामिना गरेको अख्तियारले जनाएको छ।\
उदयपुरमा हाटबजार पुनः सञ्चालन उदयपुर। उदयपुरको मध्यपहाडी क्षेत्रको दुर्गम गाउँपालिकाका क्षेत्रमा द्वन्द्वकालमा बन्द भएका हाटबजार नया वर्षसँगै पुनः सञ्चालनमा आएका छन्। लिम्चुङबुङ गाउँपालिका–२ बराहको कटुवाल भञ्ज्याङस्थित राई चोक र मध्यपहाडी क्षेत्रको रौतामाई गाउँपालिका–१ स्थित माझखर्कको डाँडामा बन्द भएका हाटबजार नयाँ वर्षको सुरुआतसँगै सञ्चालन गरिएको सम्बन्धित गाउँपालिकाले जनाएका छन्। लिम्चुङबुङका अध्यक्ष मेजर ककुमार राईले पुस्तौँदेखि सञ्चालित हाटबजार सञ्चालनमा ल्याउनु जरुरी भएको बताए। “हाटबजार सञ्चालन हुँदा किसानको उत्पादन बिक्री गर्न सहज हुन्छ, बाहिरका अन्य वस्तु पनि हाटबजारमा नै किन्न सकिन्छ”, उनले भने। गाउँपालिकाले प्रत्येक महिनाको १ गते र १५ गते हाटबजार सञ्चालन गर्ने निर्णय गरेको छ। यस्तै द्वन्द्वकालमै बन्द रौतामाई गाउँपालिका– १ माझखर्क डाडाँको हाटबजार यही वैशाख १ गतेदेखि सञ्चालनमा आएको गाउँपालिकाका अध्यक्ष वीरेन्द्रकुमार मगरले बताए। व्यापारिक दृष्टिकोणले हाटबजार सञ्चालन आवश्यक भएको उल्लेख गर्दै उनले स्थानीयको सहजतालाई ध्यानमा राख्दै हाटबजार पुनःसञ्चालन गर्नुपरेको बताए। बन्द भएका अन्य हाटबजार पनि पुनःसञ्चालनमा ल्याइने उनको भनाइ छ। रौतामाई–५ को सल्ले बजार तथा वडा नं ४ को रसुवाघाटको हाटबजार पनि चाँडै सञ्चालन गर्ने गाउँपालिकाले जनाएको छ।
विश्वकै धेरै वायु प्रदुषित शहर बन्यो काठमाडौँ काठमाडौँ। विश्वकै धेरै वायु प्रदूषण भएको शहरको सूचीमा काठमाडौं परेको छ। आइतबार  वायु प्रदुषण धेरै भएका विश्वका शहरहरूको सूचीमा काठमाडौं पहिलो नम्बरमा परेको हो। विश्वभरका शहरको वायु प्रदुषणको मात्रा नाप्दै आएको आईक्युएयरले आइतबार सार्वजनिक गरेको सूचीमा काठमाडौं सबैभन्दा धेरै वायु प्रदुषण भएको सहरको पहिलो नम्बरमा परेको हो। आईक्युएयरका अनुसार काठमाडौंको एयर क्वालिटी इन्डेक्स २०८ छ। एयर क्वालिटी इन्डेक्स १८३ रहेको थाइल्यान्डको चियाङ माइ शहर विश्वकको सबैभन्दा प्रदूषण भएको दोस्रो शहरमा परेको छ।
कोरोना सङ्क्रमणदर उकालो लाग्दै सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशमा केही हप्तादेखि कोरोना भाइरसको सङ्क्रमणदर उकालो लाग्न थालेको छ। स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्कानुसार पछिल्लो ११ दिनमा प्रदेशमा दुई सय २३ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ। यो अवधिमा पिसिआर र एन्टिजेन पद्धतिबाट सात हजार ८४ जनाको नमूना परीक्षण गरिएको छ। सङ्क्रमणदर बढेसँगै रोगले हुने मृत्युदर पनि बढ्न सक्ने स्वास्थ्यकर्मीको भनाइ छ। गतको बिहीबार एकै दिन ३६ जनामा सङ्क्रमण पुष्टि भएको थियो। कोरोना सङ्क्रमणदर बढेसँगै ‘एक्टिभ केश’ (सक्रिय बिरामी) पनि बढेका छन्। हाल कैलालीमा २२ र कञ्चनपुरमा एक सक्रिय बिरामी छन्। भारतमा कोरोना सङ्क्रमण बढेसँगै नेपालमा पनि बढ्न थालेको हो। सीमानाका हुँदै भारतबाट भित्रिने बढी नागरिकमा कोरोना भाइरसको सङ्क्रमण देखिने गरेको छ। कोरोना बढ्दै गए पनि तोकिएको स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा सर्वसाधारणबाट भइरहेको लापरवाहीले यो रोगको सङ्क्रमण बढ्न सक्ने जोखिम देखिएको स्वास्थ्यकर्मीको भनाइ छ। सर्वसाधारणबाट तोकिएको मास्क प्रयोग नगरी जथाभावीरूपमा हिँड्ने, एकापसमा सामाजिक दूरी कायम नगर्ने र स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा कमी-कमजोरी देखिएको छ। सेती प्रादेशिक अस्पतालका प्रयोगशाला प्रमुख रमेश शाहीले कोरोना सङ्क्रमणदर अझै बढ्न सक्ने बताए। “नमूना परीक्षण गराउनेहरू बढ्दा कोरोना ‘पोजेटिभ’ बिरामी पनि बढ्न सक्छन्”, उनले भने, “सङ्क्रमण पुष्टि हुने व्यक्तिलाई चिकित्सकसँग सल्लाह लिन र होमआइसोलेसनमा बस्न सल्लाह दिने गरेका छौं।” सीमाक्षेत्र हुँदै भित्रिने सङ्क्रमित नागरिकको हकमा निजकै घरठेगाना भएको पालिका तहलाई सीमाक्षेत्रमा सञ्चालित ‘हेल्थ डेस्क’मार्फत समन्वय गरेर जानकारी गराउने गरिएको छ। तर पालिका तहले सङ्क्रमण रोकथामका लागि पहल गरे/नगरेको जानकारी नभएको स्वास्थ्यकर्मीले बताएका छन्। कोरानाको सङ्क्रमण बढ्न थालेपछि कोरोना भाइरसविरुद्धको बुस्टर डोज (खोपको मात्रा) स्वास्थ्य संस्थामार्फत लगाउन थालिएको छ। सरकारले कोभिड-१९ विरुद्धको पूर्ण मात्राको खोप लगाएको तीन महिना पूरा भएका र पहिलो बुस्टर खोप लगाउन छुटेका व्यक्तिलाई पहिलो मात्रा बुस्टर खोप र यसअघि पहिलो बुस्टर मात्रा खोप लगाएको छ महिना पूरा भएका व्यक्तिलाई दोस्रो बुस्टर मात्रा खोप दिन लागिएको छ। स्वास्थ्यकर्मी, गर्भवती, १२ वर्षमाथिका दीर्घरोगी, रोग प्रतिरोधात्मक क्षमता कम भएका र ५५ वर्षमाथिका सबै नागरिकलाई बुस्टर खोप लगाउन मिल्ने जनाइएको छ। कोरोनाको सङ्क्रमण भएकाहरूले सङ्क्रमणमुक्त भएको एक महिनापछि यो बुस्टर डोज लिन मिल्ने जनाइएको छ। कोरोना भाइरसको समस्या देखिएपछि हालसम्म सुदूरपश्चिममा छ लाख ५४ हजार आठ सय १८ जनाको नमूना परीक्षण भइसकेको छ। यीमध्ये ६२ हजार दुई सयमा सङ्क्रमण पुष्टि भएको छ। रासस
डढेलोले देशभर वायु प्रदूषण बढ्दै काठमाडाैं। हाल केही दिन यतादेखि देशका विभिन्न ठाउँमा लागेको डढेलोका कारण देशभर वायु प्रदूषण बढेको छ। डढेलोकै कारण काठमाडौँ उपत्यकासहित देशभर वायु प्रदूषण बढ्दै गएको र केही दिनयता नेपालको वायु अस्वस्थकर बन्दै गएको वातावरण विभागले जनाएको छ। विभागका अनुसार अहिले पनि काठमाडाैं उपत्यकामा रहेका सबैजसो वायु प्रदूषण मापन केन्द्रले हावा प्रदूषित भएको जनाएका छन्। काठमाडौं विश्वकै प्रदूषित सहरको सूचीमा दोस्रो स्थानमा रहेको जनाइएको छ। आज बिहान ९ः३० बजेको हावाको गुणस्तर मापक सूचक (एक्यूआई) का अनुसार काठमाडाैं दोस्रो सूचीमा रहेको हो। एक्यूआई ५० भन्दा धेरै भएमा कमजोर स्वास्थ्य भएका समूह जोखिममा पर्छन् भने एक सयभन्दा माथि भएमा सबैका लागि अस्वस्थ हुन्छ। काठमाडौंको एक्यूआई अहिले एक सय ९२ छ। सूचीको पहिलो स्थानमा थाइल्याण्डको च्याङमाइ सहर रहेको जनाइएको छ। च्याङमाइको एक्यूआई दुई सय २२ छ । यसैगरी तेस्रो स्थानमा भारतको दिल्ली, चौथोमा बङ्लादेशको ढाका र पाँचौँ स्थानमा भारतको कोलकाता छ। एकाउन्नदेखि सयसम्म एक्यूआई मापन गरिएको वायु सामान्य अवस्थाको मानिने गरिन्छ। त्यसभन्दा माथिको एक्यूआई अस्वस्थकर हुन्छ । एक्यूआई तीन सयभन्दा माथि पुगेमा वायु प्रदूषण डरलाग्दो र घातक हुने बताइएको छ।
निगुरो बेचेर मनग्य आम्दानी कावासोती। पूर्वी नवलपरासी कावासोती–११ की मनमाया बोटे दैनिक ३० देखि ७० मुठासम्म निगुरो टिप्छिन्। उनले चैतदेखि साउन, भदौसम्म निगुरो टिपेर आफ्नो ६ जना परिवारको खर्च चलाउँदै आएकी छन्। दैनिक रु चार सयदेखि रु छ सयसम्म आम्दानी हुने उनी बताउँछिन्। मनमायाजस्तै कावासोती–१२ की रीता माझी पनि परिवार पाल्न र छोराछोरीको पढाइ खर्च जुटाउन निगुरो टिप्ने गरेको बताउँछिन्। पूर्वी नवलपरासीको विषेश गरेर चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रको जङ्गलमा निगुरो पाइन्छ। शिख्रौली, पिप्रहर, केउरानी, लौगाई, पिठौली, अमलटारीलगायतका नारायणी नदी नजिकका सामुदायिक वनमा पाइने निगुरो स्थानीय बजारदेखि काठमाडौँका भान्सासम्म पुग्ने गरेको छ। चैत सुरु भएदेखि पूर्वी नवलपरासीका विषेशगरेर मध्यवर्ती क्षेत्रका सामुदायिक वनमा डोको बोकेर निगुरो खोज्नेको ताँती लाग्छ। बिहान झिसमिसेमै जङ्गल पसेका महिला तथा बालबालिका डोकोभरि निगुरो बोकेर निस्कन्छन्। स्कुले बालबालिकासमेत बिदामा स्टेशनरीको जोहो गर्न निगुरो टिप्न आउँछन्। वन आसपास बस्दै आउनुभएका धेरै बालबालिकाले निगुरो टिपेर पढाइ खर्च जुटाउने गरेका छन्। विद्यालय पढ्ने बालबालिकादेखि कलेज पढ्दै गरेका किशोर–किशोरीले समेत बिदाको समयमा निगुरो टिप्ने गरेका छन्। दुई दशकदेखि नारायणी नदी आसपासका जङ्गलको निगुरो सङ्कलन गर्दै जिल्लाको कावासोती, दलदले, रजहर, डन्डालगायतका बजारमा लगरे बिक्री गर्दै आएकी  कावासोती–१२ गैरीकी माया नेपाली बताउँछिन्। गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दुका मध्यवर्ती सामुदायिक वन क्षेत्रमा दैनिक तीन–चार सय जनाले निगुरो टिप्दै आएका छन्। धेरै मजदुरले दैनिक निगुरो बेचेर परिवारको खर्च चलाउँदै आएका छन्। यस क्षेत्रबाट दैनिक निगुरो सङ्कलन गरी जिल्ला विभिन्न बजारमा बिक्री गर्न लैजाने गरेको कावासोती–१२ मा रहेको राजरत्न मध्यवर्ती सामुदायिक वनका अध्यक्ष विष्णुप्रसाद लम्साल बताउउँछन्। यहाँबाट स्थानीयदेखि नारायणघाट, काठमाडौँसम्मका व्यापारी निगुरो लैजाने गरेका छन्। स्थानीय बजारमै निगुरोको माग अत्यधिक हुने भएकाले स्थानीय बजार नै प्राथमिकता रहने गरेको मध्यविन्दुकी अनिता माझी बताउँछिन्। माझीका अनुसार कहिले वनबाट टिपेर ल्याएको निगुरो स्थानीय बजार नपुग्दै गाउँघरमा नै सकिन्छन्। निगुरोको माग अत्यधिक हुने गरेको र बजार राम्रो भए पनि जोखिम उठाएर स्थानीयले निगुरो सङ्कलन गर्ने गरेका छन्। वनमा भेटिने एकसिङ्गे गैँडा, बाघको डर मात्रै होइन निकुञ्जको सुरक्षामा खटिएका सुरक्षाकर्मीको त्रास पनि उस्तै हुने कावासोतीका कृष्णबहादुर बोटे बताउँछन्। विषेशगरेर नारायणी नदी किनारमा रहेका बोटे माझी मुसहरले चैतदेखि साउनसम्म नारायणीमा माछा मार्न अनुमति नपाउँदा निगुरो बेचेर घर चलाउँदै आए पनि वन्यजन्तु र निकुञ्ज प्रशासनको डरको कारणले जोखिम मोलेरै भए पनि निगुरो टिप्ने तथा सङ्कलन गर्दै आएका छ्न्।
एनसेलको दरबारमार्ग सडक महोत्सव ‘पर्पल स्याटर्डे’ भव्य रुपमा सम्पन्न काठमाडौँ। नेपाली नयाँ वर्ष २०८० को अवसरमा वैशाख २ गते शनिबार काठमाण्डौको दरबारमार्गमा आयोजित एनसेल प्रिजेन्टस् १६ औँ दरबारमार्ग सडक महोत्सव पर्पल स्याटर्डे सम्पन्न भएको छ। ‘नेपाली उत्पादन हाम्रो शान, सभ्यता र संस्कृति जोगाउनु हाम्रो काम’ भन्ने नाराका साथ यो महोत्सव आयोजना गरिएको थियो। नेपाल उद्योग वाणिज्य महासंघ, दरबारमार्ग विकास बोर्ड र रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान) ले एनसेलसँग महासंघको विषेश सहकार्य र मुख्य प्रायोजनमा यो महोत्सव आयोजना गरेको हो। संस्कृति, पर्यटन तथा नागरीक उड्यनमन्त्री सुदन किराती, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ, एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ, दरवारमार्ग विकास बोर्ड र रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान) का पदाधिकारीहरुले संयुक्त रुपमा महोत्सवको उद्घाटन गरेका थिए। आन्तरिक पर्यटनलाई प्रवर्द्धन गरी देशको पर्यटन विकासमा टेवा पुर्याउने, लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योगको मनोबल उच्च राख्ने, नेपाली उत्पादन, नेपाली परिकार र नेपाली संस्कृतिको प्रवर्द्धन गर्ने, काठमाण्डौ महानगरपालिकाभित्रको सांस्कृति प्रवर्द्धन एवं संरक्षणमा सहयोग गर्ने यस महोत्सवको मूल उद्देश्य रहेको थियो। काठमाण्डौ उपत्यकाभित्रका संस्कृति झल्कने प्रस्तुतिका साथ महोत्सवको औपचारिक शुभारम्भ बिहान ११ बजेदेखि गरिएको थियो। गीत–संगीतका साथै विभिन्न मनोरञ्जनात्मक प्रस्तुति र महोत्सव आयोजना गरिएको क्षेत्रमा विविध रमाइला गतिविधिसहित यो महोत्सव उत्साहका साथ बेलुका ९ बजेसम्म आयोजना गरिएको थियो। कार्यक्रम सुरु भएदेखि बेलुकासम्म १ लाख ५० हजारभन्दा बढी मानिसले महोत्सवमा भाग लिएका थिए। यस महोत्सवमा चर्चित गायक–गायिका, कलाकार तथा सांगीतिक समूहहरुको आ–आफ्ना प्रस्तुति रहेका थिए। कुटुम्ब, दीपक बज्राचार्य एन्ड रिदम ब्यान्ड, पहेँलो बत्ती मुनी, त्रिशाला गुरुङ, आविष्कार केसी, रोहित शाक्य, सिङ्क्रोनस, लाहुरे र दि एलिमेन्टसले उपस्थित दर्शक तथा आगन्तुकलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए। यसका साथै महोत्सवमा शारीरिक रुपमा भिन्न क्षमता भएका उद्यमीहरुले उत्पादन गरेका हस्तकलाका वस्तुहरु र महिला उद्यमीसहित हस्तकला उद्यमीहरुबाट उत्पादित वस्तुहरुका पनि प्रर्दशनीमा राखिएका थिए। बालबालिकाका लागि विभिन्न आकर्षक गेमसहित छुट्टै किड्स जोनको विषेश व्यवस्था गरिएको थियो भने विभिन्न नेपाली खानाका परिकार र स्वदेशी उत्पादनको विषेश प्रदर्शन तथा प्रस्तुतिका स्टलहरु महोत्सवको आकर्षणमा रहेको थियो। यसैगरी महोत्सवमा भिडिओ गेमका पारखीहरुका लागि अनलाइन गेमिङ प्रतियोगिता पनि सञ्चालन गरिएको थियो। महोत्सवमा आउने सबैका लागि फोटो तथा भिडियो बनाउन टिकटक बुथ र डिजे बुथ पनि राखिएका थिए। महोत्सव काठमाण्डौ महानगरपालिका र नेपाल पर्यटन बोर्डको विषेश सहयोगमा आयोजना भएको हो। सहप्रायोजकमा कार्ल्सबर्ग र अन्य सहयोगी संस्थामा कुनु नेपाल र एनडिज आइसक्रिम रहेका थिए। पछिल्लो पटक देखिएको तरलता संकटलगायत विविध कारणले थलिएको अर्थतन्त्र, पर्यटन व्यवसायलाई कसरी चाँडोभन्दा चाँडो पुनरुत्थान, नवउत्थानमा लैजान सकिन्छ भनी निरन्तर काम भइरहेको सन्दर्भमा महोत्सवले यो प्रयासमा निकै ठूलो सहयोग गर्ने विश्वास आयोजकहरुको रहेको छ।
बागलुङ नगर अस्पतालको भवन निर्माण अलपत्र गलकोट। बागलुङ नगरपालिकाको १५ शय्याको अस्पताल पहिलो तला ढलानको तयारी गरिएकै ६ महिना बित्यो। ६ महिनादेखि अलपत्र अवस्थामा रहेको अस्पताल भवनको छडमा खिया लाग्न थालेको छ । ढलानका लागि खरिद गरिएका कच्चा सामग्री पतकरले छोपिएका छन्। अलपत्र अवस्थामा रहेको अस्पताल भवनको ठेक्का मिति सकिने बेलासम्म कामले गति नलिँदा त्यहाँका स्थानीयले निर्माण व्यवसायीको आलोचना गरेका छन्। निर्माण सम्झौताको २१ महिनामा पहिलो तलासमेत ढलान हुन नसकेको बताइएको छ। “नगर अस्पतालले पुरानो भवनबाट सेवा दिन सुरु गरेकै दुई वर्ष भयो तर अस्पतालमा डाक्टर छैनन्, जनस्वास्थ्य निरीक्षकको भरमा अस्पताल छ, निर्माणधीन नयाँ भवनको निर्माण ठप्प छ”, स्थानीय बालकृष्ण शर्माले भन्नुभयो, “स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी नगर अस्पताल बनाए पनि सेवा स्वास्थ्य चौकीकै छ, १५ शय्याको अस्पताल भवन निर्माणकार्य ठप्प भएको छ ।” अहिले जम्मा २० प्रतिशमात्रै काम भएको प्राविधिकको भनाइ छ। लामो समयको प्रयास र पहलपछि बागलुङ–१३ पैयुपाटामा १५ शय्याको नगर अस्पताल भवन निर्माण अघि बढे पनि निर्माण व्यवसायीको लापरवाहीका कारण भवन निर्माणले गति लिन नसकेको हो। अस्पताल सम्पन्न गर्नुपर्ने मिति आउन मात्रै जम्मा तीन महिना बाँकी रहँदा पहिलो तला ढलान हुन नसक्नु दुखद् विषय बनेको बागलुङ नगर उपप्रमुख राजु खड्काले बताए। “निर्माण व्यवसायीलाई ताकेता गरिरहेका छौँ, अस्पतालको सेवा थप गर्नका लागि चिकित्सकको माग गरी पदपूर्ति गरे पनि चिकित्सक बस्नुभएन, पुनः अहिले हेल्थ असिस्टेन र ल्याब टेक्निसिएन थपेका छौँ तर डाक्टरका लागि आवेदन आएको छैन”, उनले भने, “निर्माण व्यवसायीको कमजोरीका कारण नगरपालिकाप्रति स्थानीय रुष्ट छन्, निर्माण व्यवसायीलाई तुरुन्तै सम्झौताअनुसार काम गर्न निर्देशन गर्नेछु।” बागलुङ –१३ पैयुपाटा स्वास्थ्यचौकीलाई नै नगर अस्पतालका रूपमा नामकरण गरेको बागलुङ नगरपालिकाले नयाँ भवन निर्माणका लागि रु १२ करोड ८७ लाखमा ठेक्का सम्झौता गरे पनि निर्माण व्यवसायीको ढिलासुस्तीका कारण अस्पताल भवन निर्माण कहिले सकिने टुङ्गो नलागेको बागलुङ–१३ पैयुँपाटाका वडाध्यक्ष नारायण पौडेलले बताए। सरकारले प्रत्येक पालिकामा १५, १० र पाँच शय्याको आधारभूत अस्पताल निर्माण गर्ने लक्ष्यअनुसार स्वास्थ्यको पहुँचबाट टाढा रहेको नगरपालिकाको दक्षिण भेगलाई लक्षित गरी नगर अस्पताल निर्माण थालिएको भए पनि निर्माणमा ढिलाइ हुनु र अस्पतालको स्वास्थ्य सेवा प्रभावकारी नहुँदा समस्या भएको छ। पन्ध्र शय्याको अस्पताल भवन निर्माण गर्न श्री महालक्ष्मी जुगल जेभीसँग २०७८ असार २३ गते रु १२ करोड ८७ लाखमा सम्झौता भएको थियो। उक्त भवन २०८० साल असार २० गतेसम्म सक्नुपर्ने सम्झौता रहेको छ। प्रवेशद्वार, पार्किङलगायतका संरचनासहित तीन तलाको विद्युतीय भर्‍याङसहितको अस्पताल निर्माण हुनेछ। नगरपालिकाको रायडाँडा, पैयुपाटा, अमलाचौर र नारायणस्थनका बासिन्दालाई अस्पताल निर्माणसँगै स्वास्थ्य सेवा लिन सहज हुने गरी नगर अस्पताल घोषणा गरिएको नगर स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिए। उनका अनुसार अस्पतालमा एमडीजिपीसहित तीन चिकित्सक आवश्यक रहे पनि अहिले मेडिकल अधिकृतसमेत राख्न नसकिएको हो। स्थानीयको नौ रोपनी जग्गा नगर अस्पतालका नाममा पास गरेपछि अस्पताल निर्माण अघि बढेको थियो। ठेक्का सम्झौता भौगोलिक जटिलता, निर्माण सामग्रीको अभाव तथा सडकमार्गको अबरुद्धका कारण भवन निर्माणले गति लिन नसकेको बताउँदै भवन निर्माणको जिम्मा पाएको महालक्ष्मी जुगल जेभीका प्रतिनिधि नरेश ओझाले अब निर्माणले गति लिने बताए। स्वास्थ्य चौकी छ, सेवा छैन स्वास्थ्यचौकीको प्राङ्गण चिरा–चिरा परेको छ। स्वास्थ्यचौकीको प्रवेशद्वारा अघि तितेपाती झार उम्रेको छ। छतमा गरेको प्लास्टर उप्किएको छ भने केही विद्युतीय संरचना तोडफोडसमेत गरिएको छ। यो दृश्य बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–२ भिमापोखरा स्वास्थ्यचौकीको नवनिर्मित भवनको हो। समयमै स्वास्थ्यचौकीको भवन सम्पन्न नहुँदा साँघुरो भवनबाट जनतालाई स्वास्थ्य सेवा दिन बाध्य भएको छ भिमापोखरा स्वास्थ्यचौकी। स्वास्थ्यचौकीका कोठामा एक वर्षदेखि ताला लगाइएको छ। ताला कसले लगाएको हो भन्ने विषयमा समेत स्वास्थ्यचौकी र जनप्रतिनिधि अनभिज्ञ रहेको पाइएको छ। स्वास्थ्यचौकीमा रङरोगन गरे पनि च्यानल गेट, तारबार, झ्याल र सिसाको काम अझै बाँकी रहेको काठेखोला–२ भिमापोखराका वडाध्यक्ष विद्यापति शर्माले जानकारी दिए। “एक वर्षदेखि स्वास्थ्यचौकी यो अवस्थामा रहँदा जनतालाई स्वास्थ्य सेवा भने पुरानो भवनबाट प्रदान गर्न बाध्य भइरहेका छौँ, आर्थिक वर्ष २०७५/७६ बाट बन्न थालेको भवन एक वर्षदेखि प्रयोगविहीन छ”,उनले भने, “भवन हस्तान्तरण भए वडाले नै लगानी गरेर मर्मत गरी सेवा दिन सक्थ्यो, यहाँ त न भवन हस्तान्तरण हुन्छ न सम्पन्न नै, भवनको गुणस्तरमा समेत समस्या देखिएको छ।” घरअघि भवन ठडिएको एक वर्ष भयो, तर स्वास्थ्य सेवा पुरानै भवनबाट दिइएकाले नागरिकलाई समस्या भएको स्थानीय भक्तिनाथ गौतमले गुनासो गरे। भवन हस्तान्तरण नहुँदा पुरानै भवनबाट सेवा दिन बाध्य भएको स्वास्थ्यचौकीका प्रमुख आशिष सापकोटाले जानकारी दिए। उनका अनुसार ६ जना दरबन्दी रहेको स्वास्थ्यचौकीमा अहिले तीन जनामात्रै कार्यरत रहेको बताए। काठेखोला गाउँपालिकाका इञ्जीनियर विनोद लामिछानेका अनुसार स्वास्थ्यचौकीको भवन तत्कालै सेवा दिने गरी गाउँपालिकाले कदम चाल्ने जानकारी दिए। रु तीन करोड लागतमा सङ्घीय सरकारको बजेटमा निर्माण गरिएको भवनबाट गुणस्तरीय स्वास्थ्य सेवा दिने गरी गाउँपालिकाले निर्माण व्यवसायीसँग परामर्श गरिरहेको छ। “ठेकेदारले काम छाडेको अवस्था हो, बजेटसमेत गत असारमै फ्रिज भइसक्यो, बैंक धरौटी रकमबाटै भए पनि भवन मर्मत गरेर स्वास्थ्य सेवा दिने हाम्रो योजना छ, भवन निर्माणमा देखिएका समस्या सच्चाउने र बैंक धरौटी रकम कटौती गर्न पालिका पछि पर्दैन”, उनले भने।
गोरखा-जितगढी पदयात्रा : सेनाको टोली पाल्पामा गोरखा। जितगढी पैदलयात्रामा निस्केको नेपाली सेनाको टोली पाल्पा आइपुगेको छ। गोरखाबाट गत चैत २९ गते निस्केको सो टोली तनहुँ, स्याङ्जा हुँदै शनिबार पाल्पाको रामपुर आइपुगेको हो। तत्कालीन नेपाली फौजले अङ्ग्रेज फौजलाई परास्त गरेको बुटवलको जितगढी किल्लासम्म पुग्ने उद्देश्यले सो टोली गोरखाबाट पाल्पा हुँदै बुटवलको जितगढी हिँडेको हो। रामपुर नगरपालिकाको आयोजनामा टोलीलाई भव्य स्वागत गरिएको छ। जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल, रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापा, प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोला, रामपुर नगरका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपाने, विभिन्न वडाध्यक्ष, स्थानीय महिला समूह, नेपाली सेना, नेपाल प्रहरी, स्थानीयवासीद्वारा स्वागत तथा सम्मान गरिएको छ। तत्कालीन गोरखा राज्यका राजा पृथ्वीनारायण शाहले राज्य विस्तारका क्रममा प्रयोग गरेको बाटो हुँदै उक्त टोली पैदल बुटवल पुग्ने योजना सेनाको छ। एकीकरण मार्ग, ऐतिहासिक धरोहरको जगेर्ना गर्ने, ऐतिहासिक एकीकरण अभियानको संरक्षण भावी पुस्तामा हस्तान्तरण गर्ने, राष्ट्रिय एकताको भावना थप प्रगाढ बनाउने उद्देश्यले सरोकारवाला, स्थानीय निकायको सहभागितामा ऐतिहासिक महत्व बोकेका किल्ला, गढी, युद्धस्थल, पदमार्गलगायत धरोधरको संरक्षण प्रवद्र्धन गर्नका लागि प्रथमपटक यस ऐतिहासिक गोरखा, तनहुँ, स्याङ्जा, पाल्पा जितगढी (रुपन्देही) पदयात्रा कार्यक्रम तय गरिएको दि फेमस महेन्द्र दल गणका गणपति बालमुकुन्द विष्टले बताए। नेपाल एकीकरण अभियानको उद्गस्थल गोरखा दरबारबाट काठमाडौँतर्फ पदयात्रा विगत पाँच वर्षदेखि सञ्चालन भई पुस २७ गते मनाइन्छ। यसै सन्दर्भमा अर्को ऐतिहासिक कार्यको थालनीको रूपमा २०७९ चैत २९ गते गोरखाबाट सुरु भएको प्रथम ऐतिहासिक गोरखा जितगढी एकीकरण पदयात्राका कार्यक्रमअन्तर्गत टोली पाल्पा रामपुर आइपुगेको हो। सहायक रथी ललिबहादुर कुँवरले गोरखाबाट जितगढी पुग्ने ५५ जनाको टोली रहेको र जिल्ला-जिल्लाका ३५ जना सेनाको सहभागितामा पदयात्रा गरिएको बताए। “राष्ट्रिय एकता, पर्यटन प्रवद्र्धनलगायत सबैमा सैनिक-नागरिक सम्बन्ध थप प्रगाढ बनाउँदै जाने र सेनाले ऐतिहासिक धरोहर गढी, किल्लामा सबै अवलोकन गर्ने गरी कार्यक्रम आयोजना गरिएको छ”, उनले भने। गोरखाबाट काठमाडौँका लागि एकीकृत पदयात्रा गरिरहेको अवस्थामा त्यसैको स्वरुप पश्चिमतर्फ एकीकरण पदयात्रा प्रथमपटक हुन लागेको हो। एकीकरणमा पृथ्वीनारायण शाहको पालामा पाँचवटा पल्टन, जितगढीमा भाग लिएको एउटा गुल्मलगायत आ-आफ्नो जिल्ला–जिल्लामा तैनाथ गणको सहभागिता, जनप्रतिनिधि, सरोकारवालाको सहभागितामा हर्षोल्लासका साथ ऐतिहासिक पदयात्रा मनाइँदैछ। जिल्ला समन्वय समिति पाल्पाका प्रमुख खनालले नेपाल एकीकरणमा हाम्रा वीर पुर्खाहरूले गरेको योगदानको स्मरण गर्दै अहिले जुन कार्य भइरहेको छ त्यसले समाजमा सकारात्मक प्रभाव पारेको बताए। नेपालको राष्ट्रिय झन्डाको साथमा नेपाली सेनाको श्रीनाथ गण, कालिबक्स गण, बर्दवाणी गण, सबुज गण, पुरानो गोरख गण र जितगढी लडाइँमा सहभागी गुरुबक्स गुल्मको झन्डा बोकेर बाजागाजासहित पदयात्रा सुरु भएको छ। टोलीले सतीघाट पुगेर तनहुँको टोलीलाई झन्डा हस्तान्तरण, तनहुँको टोलीले पाल्पाको केलादीघाट आई पाल्पालाई र पाल्पाले नुवाकोटगढी पुगेर रुपन्देहीलाई झन्डा हस्तान्तरण गर्ने कार्यक्रमअनुसार पदयात्रा अगाडि बढेको छ। यात्रामा गोरखाको रिपुमर्दन गण, तनहुँको रुरु भैरव दल गण, काली भञ्जन गण, राजदल गण, स्याङ्जाको समरजित गुल्म, पाल्पाको दि फेमस महिन्द्र दल गण र रुपन्देहीको गरुड दल गण प्रत्यक्ष सहभागी हुनेछन्। पाल्पामा केलादीघाट हुँदै प्रवेश गर्ने टोलीले बाकुमगढी, माथागढी, तानसेन–तिनाउ हुँदै रुपन्देही प्रवेश गर्ने दि फेमश महिन्द्र दल गण पाल्पाले जनाएको छ । रुपन्देहीको टोलीले वैशाख ७ गते जितगढी उत्सवको विशेष दिन झन्डालाई जितगढी पुर्‍याएपछि यात्रा सम्पन्न हुनेछ। रासस
पूर्णखोप सुनिश्चितताका लागि वैशाख ११ देखि खोप सप्ताह मनाइने काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही वैशाख ११ देखि १७ गतेसम्म खोप सप्ताह मनाउने भएको छ। मन्त्रालयले वैशाखलाई पूर्णखोप सुनिश्चित र प्रमाणीकरण महिनाका रूपमा मनाउने उद्देश्यले खोप सप्ताह मनाउन लागिएको हो। लगाउन छुटेका सबै बालबालिकालाई खोप लगाई नेपालमा पूर्णखोप रहेको सुनिश्चित गर्नका लागि सप्ताह मनाउन लागेको स्वास्थ्य मन्त्रालय परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले जानकारी दिए। विभिन्न जिल्लामा खोप लगाउन छुटेका बालबालिकाको सङ्ख्या बढ्दै गइरहेकाले उनीहरुमा दादुरा, रुवेलालगायत महामारीको जोखिम बढ्न सक्ने भएकाले खोप सप्ताहअन्तर्गत वैशाखभरि सबै बालबालिका खोप दिइने निर्देशक लालले बताए। वैशाख पहिलो हप्तादेखि खोप छुटेका बालबालिकाको पहिचान गर्ने, वैशाख १५ र ३१ गते दुई दिन नियमित अभियान सञ्चालन गरी खोप लगाइने छ। यस्तै वैशाख ६ र ७ गते भिटामिन ‘ए’ खुवाउने क्रममा पनि खोप लगाउन छुटेका बालबालिकाको सूची तयार पारिने परिवार कल्याण महाशाखाले जनाएको छ।
आजको मौसम : तीन प्रदेशमा वर्षाको सम्भावना काठमाडौं। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आइतबार तीनवटा प्रदेशमा वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार आइतबार दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागको मौसम आंशिक बदली रहनेछ। कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ। साथै देशका तराई भू-भागका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ। आइतबार राति देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ।
जङ्गलमा ऐलानी जग्गा पाइन्छ भनेर झुटा आश्वासन दिँदै ठगी गर्ने तीन जना पक्राउ जानकी। बाँकेको जङ्गल क्षेत्रमा रहेको ऐलानी जग्गामा बसोबास मिलाइदिने प्रलोभनमा पारी ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। दुर्गम पहाडी जिल्लाबाट थुप्रैको सङ्ख्यामा बाँकेको बैजनाथा गाउँपालिकाको पितमारी नजिकैको जङ्गलमा सुकुम्वासीलाई जग्गा उपलब्ध गराउने भन्दै उनीहरुले ठगी गरेका थिए। प्रतिव्यक्ति रु पाँच सयदेखि रु एक हजारसम्मको फारम भराएर पैसा असुल्ने गिरोहमध्येका तीन जनालाई इलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीका अनुसार गिरोहले झण्डै एक हजार पाँच सयको सङ्ख्यामा पहाडी जिल्लाका विभिन्न ठाउँबाट सुकुम्वासीका नाममा बाँकेको बैजनाथ– २ पितमारीको जङ्गलमा लगेर बस्ती बसाउँदै गर्दा उनीहरुलाई नियन्त्रणमा लिइएको हो। नियन्त्रणमा लिएकामध्ये जाजरकोटको नलगाड नगरपालिका–११ का ४४ वर्षीय नरबहादुर कामी, सोही जिल्लाको कुशे गाउँपालिका–४ का ३८ वर्षीय मोहनजङ्ग शाह र डोल्पा जिल्ला ठूलीभरी नगरपालिका–७ कि ६० वर्षीय सुनरुपा ठकुल्ला रहेको प्रहरीले जनाएको छ। अदालतलेसमेत आजको उनीहरुको सात दिनको म्याद थप गरेको छ। जङ्गल अतिक्रमण गरेर बस्ती बसाउन लागेको सूचना थाहा पाएसँगै प्रहरीको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको डिएसपी तिवारीले बताए। “केही दिनअघिदेखि नै कोहलपुर क्षेत्रमा शङ्कास्पद मानिसको चहलपहल बढेको कुरालाई हामीले विचार गरिरहेका थियौ, सूचनाका आधारमा ती व्यक्तिलाई सुकुम्वासी बनाएर जङ्गल अतिक्रमण गर्ने योजना रहेको थाहा पाएपछि हामीले नियन्त्रणमा लिएका हौँ”, डिएसपी तिवारीले भने। जाजारकोट, सल्यान, रुकुम, मुगु, डोल्पा लगायतका पहाडी जिल्लाका मानिसलाई झण्डै एक महिना अघिदेखि नै कोहलपुरमा रहेका आफन्तको घरमा बसालेर जङ्गल अतिक्रमण गर्न भनि ल्याइएकामध्ये धेरैजसो महिला बालबालिका ज्येष्ठ नागरिक रहेको डिएसपी तिवारीको भनाइ छ। उनका अनुसार बस्ती बस्न भनि आएकामध्ये तीन सयभन्दा बढीलाई इलाकाले नै गाडीको व्यवस्था गरेर फर्काइएको छ। बाँकी आफन्तकोमा नै लुकेर बसेको र उनीहरुको पनि खोजी जारी रहेको उनले बताए। बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले ऐलानी जग्गा पाइन्छ भनेर झुटा आश्वासन दिँदै जनतालाई दुःख दिने र उनीहरुबाट पैसा असुल्ने गिरोहलाई खोजेर काबारही गरिने बताए। उक्त गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाहीलाई पालिका क्षेत्रमा सुकुम्वासीलाई उपलब्ध गराउनका लागि कुनै पनि जग्गा नभएको बताए। दलालहरुले जग्गा उपलब्ध गराईदिने भनेर केवल ठगीधन्दा गर्ने प्रयास गरेको बताउँदै सबैलाई सचेत रहन अध्यक्ष शाहीले आग्रह समेत गरे।
सेती खोँचमा खसेकी बालिकाको मृत्यु पोखरा । सेती नदीको खोँचमा खसेकी बालिकाको मृत्यु भएको छ । खोँचमा खसेको २ घण्टापछि उद्धार गरिए पनि उनको ज्यान जोगाउन नसकिएको प्रहरीको भनाइ छ । उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्‍याइए पनि उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको हो । पोखरा–८ की स्मृति पराजुली शनिबार दिउँसो साथीहरूसँग सेती खोला नजिक खेल्न जाँदा खोँचमा खसेकी थिइन् ।
२० दिनदेखि बेपत्ता पुरुषको शव फेला सल्यान । सल्यानमा २० दिनदेखि बेपत्ता एक पुरुषको शव फेला परेको छ । शारदा नगरपालिका–७ ओख्रेनीका ३८ वर्षीय भद्रबहादुर विक हराएको २० दिनपछि शनिबार मृत फेला परेका हुन्। शारदा नगरपालिका–७ कागेखोलास्थित मसिना सामुदायिक वनको भीरमा सडेगलेको अवस्थामा गाईबाख्रा चराउन जंगल गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिए । मृतक विकका छोराले कपडाको आधारमा सनाखत गरेको उनको भनाइ छ । विक गत चैत १२ गते घरबाट निस्किएपछि बेपत्ता भएका थिए ।​ विकको शव पोष्टमार्टमका लागि सल्यान जिल्ला अस्पतालमा ल्याइएको र अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।
बिसु पर्व मनाएर घर फर्किँदै गरेका हजुरआमा र नातिनीको लडेर मृत्यु दार्चुला । दार्चुलामा बिसु जात्राबाट घर फर्किने बेला भिरबाट लडेर हजुरआमा र नातिनीको ज्यान गएको छ । मार्मा गाउँपालिका वडा नम्बर १ घुल्जरमा लागेको बिसु जात्रा हेर्न गएका दुई जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । मार्मा गाउँपालिका वडा नम्बर १ घोल्जर पाखु बस्ने वर्ष ५१ कि कुटुमा देवी ठगुन्ना र उनको साथ रहेकी नातनी दुई वर्षीया सोनिया धामीको भिरबाट लडेर ज्यान गएको हो । शुक्रबार राति बिसु जात्राबाट घर फर्किने बेला भिरबाट लडेर बेपत्ता रहेका दुवै जनाको शव शनिबार दिउँसो करिब २ बजेतिर सुङगर भिरमा भेटिएको प्रहरीले जनाएको छ ।
रौतहटको गढीमाईमा दुई पक्षबीचको झडपमा गोली चल्यो, एकजनाको मृत्यु काठमाडौं। रौतहटको गढीमाई–८ मा गोली चल्दा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी वीरबहादुर बुढामगरका अनुसार राम ईश्वर पक्षले चलाएको गोली लागेर गम्भीर घाईते भएका राजकुमार राय यादवको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ। रौतहटको गढीमाई नगरपालिका–८ धोबिनिया गाउँमा सडक बनाउने विषयमा दुई पक्षबीच झडप भएको थियो। स्थानीय रामईश्वर राय र राजकुमार यादव पक्षबीच सडक फराकिलो गर्ने विषयमा झडप हुँदा राजकुमार पक्षधरले ढुङ्गा मुढा गर्न थालेपछि राम इश्वर राय यादव पक्षले गोली चलाउदा राजकुमार रायको मृत्यु भएको थियो। उनीसँगै खुट्टामा गोली लागेर घाइते भएका निरज यादव र झडपमा ढुङ्गा लागेर घाईते भएका स्थानीय राम प्रताप यादव, कपिलदेव राय यादव सहित चार जनाको गरुडा स्थित ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ। झडपमा संलग्न नौ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
दानदाताको सहयोगले चल्छन् संस्कृत गुरुकुल डुम्रे। राष्ट्रियता, मानवता र विश्वबन्धुत्वको विकासका लागि सनातन धर्म, संस्कार र आर्य संस्कृतिको संरक्षण, संवर्द्धन तथा संस्कृत शिक्षाको आवश्यकतालाई मध्यनजर गरी संस्कृत ज्ञानविज्ञानको प्रचारप्रसार गर्ने उद्देश्यले तनहुँको देवघाटधाममा गुरुकुल सञ्चालित छन्। वटुकलाई सनातन धर्म, संस्कार र संस्कृतिका बारेमा ज्ञान दिने उद्देश्यले यहाँ सातवटा गुरुकुल सञ्चालित छन्। यहाँका सबै गुरुकुल दाताको सहयोग र मुठ्ठीदानको भरमा छन्। देवघाटधाममा नानीका लागि तीन र बाबुका लागि चार गुरुकुल छन्। यहाँ तनहुँ, चितवन र नवलपुरका बटुक अध्ययनरत छन्। तनहुँमा वटुकका लागि महेश सन्यास आश्रमद्वारा सञ्चालित मेहश संस्कृत गुरुकुल, गलेश्वर आश्रमले सञ्चालन गरेको वेदवेदाङ्ग संस्कृत गुरुकुल, हरिहर आश्रमले सञ्चालन गरेको परमानन्द संस्कृत गुरुकुल र माताजीले सञ्चालन गरेको माँ कल्याणी गुरुकुल छन्। गुरुकुलमा करिब सात सय वटुक अध्ययनरत रहेको महेश सन्यास आश्रमका व्यवस्थापक सन्तोष गिरीले जानकारी दिए। उनका अनुसार प्रत्येक गुरुकुलमा करिब दुई सय २५ देखि ७५ सम्म वटुक अध्ययनरत छन्। “नानीका लागि सञ्चालित गुरुकुलमा करिब ५० बटुक छन्, नानीहरूको गुरुकुलमा कक्षा ८ सम्म अध्ययन हुन्छ, कक्षा वृद्धि गर्दै लैजाने गरी सञ्चालन गरिएको हो”, उनले भने। महेश गुरुकुलमा शास्त्री र आचार्य (स्नातक र स्नातकोत्तर), परमानन्द गुरुकुलमा शास्त्रीसम्म अध्यापन भइरहेकामा आचार्यसम्मको पठनपाठन सुरुआत गर्ने तयारी भइरहेको गरेको उनले बताए। वेदवेदाङ्गमा यसअघि कक्षा १० सम्म अध्ययन हुने गरेकामा अहिले शास्त्रीसम्मको अध्यापन सुरु गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डबाट सम्बन्धन प्राप्त गरी परीक्षामा सहभागी गराउँदै आएको व्यवस्थापक गिरीले बताए। शास्त्री तथा आचार्यका लागि नेपाल संस्कृत विश्वविद्यालय दाङबाट सम्बन्धन प्राप्त गरी अध्यापन भइरहेको उनको भनाइ थियो। “सबै गुरुकुल एउटै प्रकृतिका छन्, आवासीयसहित वटुकलाई अध्ययनको व्यवस्थापन गरिएको छ”, व्यवस्थापक गिरीले भने, “आर्थिक व्यवस्थापन गर्न समस्या छ, दानदाताको भरमा यहाँका आश्रम तथा गुरुकुल सञ्चालित छन्।” उनका अनुसार यहाँका सबै गुरुकुल मुठ्ठीदानको भरमा सञ्चालित छन्। गुरुकुल नियमित सञ्चालन र भौतिक विकास गरी दुई पाटोमा विभाजन गरी व्यवस्थापन गरिएको छ। नियमित सञ्चालनतर्फ गुरु र कर्मचारीलाई तलब, वटुकलाई खान र शिक्षाका लागि खर्च छुट्टाइन्छ। “दातालाई फरक तवरबाट व्यवस्थित गरिएको छ, अन्नदाता, शिक्षाका लागि दान गर्न चाहने व्यक्तिलाई एक वर्षमा एक जना वटुकका निम्ति सहयोग गर्न अपिल गर्ने तथा अन्य सहयोग सङ्कलन गर्ने अभियानमार्फत गुरुकुल सञ्चालन गरेका छौँ”, गिरीले भने। विभिन्न स्थानमा गएर गुरुकुलको प्रचार–प्रसार गरी अन्नदाता र शैक्षिकदाता सङ्कलन गर्ने अभियान सञ्चालन गर्दै आएको उनको भनाइ थियो। शैक्षिकदातासँग वार्षिकरूपमा प्रतिवटुकलाई लाग्ने रू १२ हजार वार्षिक तिथि, जन्मदिनको अवसरलगायतमा सहयोग गर्न आग्रह गर्ने गरिएको उनले बताए। विश्वविद्यालयबाट महेश संस्कृत गुरुकुलका लागि तीन जना गुरु प्राध्यापनमा आउनुभएको व्यवस्थापक गिरीले जानकारी दिए । भौतिक विकासका लागि भूमि दान महाअभियान सञ्चालन गरिएको छ। दानदातासँग सहयोगको अपिल गरेर नै भौतिक विकास अगाडि बढिरहेको गुरुकुलले जनाएको छ। दानदाताको भरमा गुरुकुल सञ्चालन भइरहेको वेदवेदाङ्ग संस्कृत गुरुकुलका प्राचार्य नन्दप्रसादले बताए। त्रिवेणीधामको रूपमा रहेकाले यहाँ सञ्चालित गुरुकुललाई सहयोग प्राप्त हुने गरेको उनको भनाइ थियो। देवघाटधाममा आउने भक्तजनले संस्कृत गुरुकुललाई बढी सहयोग गर्ने नन्दप्रसादको भनाइ थियो। महेश संस्कृत गुरुकुलमा कक्षा ९ मा अध्ययनरत वटुक समीर न्यौपाने नुवाकोटबाट संस्कृत विद्या हासिल गरी हिन्दू धर्म, संस्कार र संस्कृतिलाई जीवन्त राख्न प्रेरित भएको बताउँछन्। “विद्यालयमा अध्ययनकै क्रममा काठमाडौँ भ्रमण जाँदा गुरुकुलमा पुगेपछि संस्कृत अध्ययनतर्फ आकर्षित भएको हुँ, परिवारबाट पनि संस्कृत अध्ययन गर्न प्रेरित गरिरहनुभएको थियो, यहाँ आएपछि थप आकर्षित भएँ र अध्ययनका लागि आएको हुँ”, न्यौपानेले भने। बर्दियाबाट आएर महेश संस्कृत गुरुकुलमा कक्षा १२ मा अध्ययनरत वटुक प्रभात रिजालले संस्कृत भन्नेबित्तिकै अपनत्व लागेर अध्ययन गरिरहेको बताए। “संस्कृत विषय आफ्नो विषय जस्तो लाग्छ, संस्कृतले धर्म, संस्कार र संस्कृतिसँग जोडेको पाएँ, अध्ययनकै क्रममा संस्कृत विषय अझ बृहत् रहेछ भनेर बुझेँ, अनुसन्धानात्मक रूपमा अध्ययनरत छु”, उनले भने। महेश संस्कृत गुरुकुलका प्रधानाचार्य फणिन्द्रप्रसाद पौडेलले भने, “न्याय हराए गोर्खा जानु, विद्या हराए कासी जानु भन्ने गर्दथ्र्यौँ, अहिले त्यो कथन फेरिएको छ, विद्या हराए देवघाट जानु भन्ने प्रचलन बढेको छ।” अहिले वार्षिक एक जना बटुक भारतबाट संस्कृत अध्ययनका लागि यहाँ आउने गरेका उनले बताए। “विद्या चाहिए देवघाट आउनु भन्ने गरेका छौँ, कासी, बनारस, भारतका विभिन्न विश्वविद्यालयका प्राध्यापकका बालबालिका यहाँ संस्कृत अध्ययनका लागि आउने गरेका छन्”, उनको भनाइ थियो। देवघाटधाममा सञ्चालित गुरुकुल पवित्रस्थलमा रहेकाले पनि यहाँको गुरुकुलमा भारतबाट वटुक संस्कृत शिक्षा लिन आउने गरेका हुन्। महेश संस्कृत गुरुकुलबाट विद्यावारिधि गरेका प्रचार्य नेपालका त्रिविवि, शिक्षण पेसामा आबद्ध छन् भने भारतलगायत विभिन्न देशमा संस्कृत तथा नेपाल भाषा अध्यापनमा सम्बद्ध रहेका गुरुकुलले जनाएको छ। गुरुकुललाई मुलधारको शिक्षा होइन कि भन्ने वटुकमा नकारात्मक सन्देश प्रवाह नहोस् भनेर महेश संस्कृत गुरुकुलले कक्षागतरूपमा अध्यापन गरिरहेको व्यवस्थापक गिरीले बताए। “धार्मिक शिक्षाका लागि प्रदेश सरकारबाट हुने सहयोग भने लिइरहेका छौँ”, उनले भने। संस्कृत शिक्षालाई परिस्कृत र संरक्षण गरिरहनका लागि सरकारले रुचि राख्नेमा वटुकलाई सहज हुने गरी अध्ययनको व्यवस्थापन गर्न सकिने गुरुकुलको भनाइ छ। संस्कृत विषयको छुट्टै नभई मूलधारकै विषय भएको महसुस गराउन आवश्यक रहेको प्रधानाचार्य पौडेलले बताए। आधुनिक शिक्षासँगै संस्कृत शिक्षामा रुचि राख्ने बालबालिकालाई अध्ययनका लागि सरकारबाटै उचित व्यवस्थापन भए गुरुकुलमा बसेर अध्ययन गर्नुपर्ने अवस्थाको अन्त्य हुने उनको भनाइ थियो। –मिला दरै\रासस
२७ वर्षीय सुजनले पहिलो पटक छेडे जिब्रो भक्तपुर। भक्तपुरको मध्यपुरथिमि नगरपालिका–८ बोडेमा मनाइने जिब्रो छेड्ने जात्रामा स्थानीय सुजन बाग श्रेष्ठले पहिलो पटक जिब्रो छेडेका छन्। नाइकेहरूले विभिन्न देवगणको पूजा गरेपछि तेलमा डुबाइराखेको १० ईन्च लामो सुइरोले पाँचो गणेशको प्राङ्गण रहेको पाटीस्थीत मञ्चमा सुजन बागको जिब्रो छेडिएको हो। यसअघि सुजका बुबा बुद्धकृष्ण बाग श्रेष्ठले नौपल्ट जिब्रो छेडाइसकेका छन् भने यसबर्ष सजनले जिब्रो छेडेका हुन्। चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाएपछि जिब्रो छेड्ने व्यक्तिले निराहार व्रत बसेर जिब्रो छेड्ने चलन छ। जिब्रो छेडेपछि चन्द्राकारको भ्वाय् अर्थात् महाद्विप बोकेर टोल टोल घुम्ने र भाँगु टोलमा पुगेर पाँचो गणेश मन्दिरमा जिब्रो छेडेको सुइरो निकालेर महालक्ष्मी मन्दिरमा ठोकेपछि यो जात्रा सम्पन्न हुने परम्परा रहेको छ। दैवी शक्तिलाई आधार मानेर प्राचीनकालदेखि नै मनाइँदै आएको बोडेको सिङ्गो ऐतिहासिक, धार्मिक र संस्कृतिसँग सम्बन्धित यो जात्रा नीलबाराही देवगणसँग सम्बन्धित रहेको छ। किंवदन्तीअनुसार प्राचीनकालमा बोडेमा नीलबाराहीको दायाँबायाँ बस्ने भुतप्रेत, पिशाच, ख्याक तथा कङ्कालले बोडेका मानिसलाई धेरै दुःख दिने गर्थे। यो थाहा पाई तान्त्रिक भीमदत्त त्यहाँ आएर तान्त्रिक विद्याअनुसार बोडेभरि पासो राखेर दुःख दिने पिशाचलाई समातेर उसको जिब्रो छेडी बलेको महाद्वीप बोकाएर बोडे घुमाएपछि यो जात्राको परम्परा चलेको हो।
जंगली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु सिरहा। जंगली हात्तीको आक्रमणबाट सिरहामा एक वृद्धको मृत्यु भएको छ । गोलबजार नगरपालिका–१ लमाडडामा गए राति नाच हेर्न गएका बेला हात्तीको आक्रमणबाट गोलबजार नगरपालिका–३ गोलामुक्सारका ७४ वर्षीय तुलबहादुर आलेमगरको ज्यान गएको हो । नाच हेरेर फर्किने क्रममा गोलबजार नगरपालिका–१ गुलरियामा एक्कासी हात्ती देखिएपछि अन्य साथीहरू भागेको र तुलबहादुर भाग्न नसक्दा हात्तीको आक्रमणमा परेको वडा नं ३ का अध्यक्ष धनप्रसाद लामाले जानकारी दिए। घटनालगत्तै पुगेको प्रहरी टोलीले हात्ती धपाएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक डुपेन्द्रप्रसाद बुदाथोकीले जानकारी दिए। शव परीक्षणका लागि प्रादेशिक अस्पताल लहान लगिएको छ
चुरे संरक्षण अभियन्ता नागदेव यादव सरकारबाट सम्मानित महा‍ेत्तरी।  चुरे संरक्षणमा योगदान पुर्‍याएबापत नागदेव यादव नेपाल सरकारबाट सम्मानित भएका छन । राष्ट्र गौरव एवं नेपाली जनताको हित अभिवृद्धिमा उल्लेखनीय योगदान पुर्‍याएबापत यादवलाइ जनसेवा श्री पन्चम श्रेणीद्वारा विभूषित गरिएको हो । चुरे संरक्षणमा पुर्‍याए याेगदानकाे मूल्यांकन गर्दै नेपाल सरकारले राष्ट्रिय पुरस्कारबाट विभूषित गरेको हाे । पुरस्कारले चुरे संरक्षणमा लाग्न थप हौसला प्रदान गरेको बताउँदै चुरे संरक्षण विज्ञसमेत रहेका यादवले भने – `हामीले गरेको अभ्यास वास्तवमै सरकारले उत्कृष्ट ठहर्‍याएको छ ।´ जलवायु परिवर्तन तथा चुरे विनाशले मधेशको जनजीविकामा पारेको असरलाई मध्यनजर गर्दै यादवले विपन्न वर्गहरुलाई बगरमाथि खेती लगाउन सिकाउँदै आएका छन् । उनकै सहयाेगले बाढीले  बगर बनाएको नदीको तटीयक्षेत्रमा तरकारीदेखि अन्य नगदे बाली उत्पादन गर्न थालिएकाे छ । भूमिहीन किसानहरुलाई पहिचान गरि गौशालाको कुस्मारी, बर्दिबास, भंगाहा धनुषाको बट्टेश्वर र मिथिला अनि सिरहाको कर्जन्हा नगरपालिकामा बगरमा खेती गरिएको छ ।
विमानस्थलबाट ब्राउनसुगरसहित एक युवक पक्राउ बाँके। नेपालगञ्ज विमानस्थलबाट ब्राउनसुगरसहित एक युवक पक्राउ परेका छन् । विमानस्थल सुरक्षा गार्डको प्रहरी टोलीले शुक्रबार बिहान जाँचका गर्ने क्रममा ब्राउनसुगरसहित कैलालीको घोडाघोडी नगरपालिका–२ बस्ने २२ वर्षीय अमुल क्षेत्रीलाई पक्राउ गरेको हो । उनका साथबाट ४५ ग्रामको ब्राउनसुगर बरामद गरिएको बाँके प्रहरीले जनाएको छ । उनी श्री एरलायन्सबाट काठमाडौँतर्फ जान लागेका थिए । पक्राउ परेका क्षेत्रीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
वर्षमान पुनकी आमालाई आफ्नै सुरक्षाकर्मीले गोली हाने काठमाडौं । सुरक्षार्थ खटिएका पिओसोले गोली चलाउदा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’की आमा घाइते भएकी छिन्। शुक्रबार साँझ नयाँ वर्षको अवसरमा घरमै खानपीन चलिरहेका बेला वर्षमानकी आमा तिर्थमालीमाथि पिओसोले गोली चलाएका हुन्। उनको अहिले ट्रमा सेण्टरमा उपचार भइरहेको छ। गोली प्रहार गर्ने नातामा नाति पर्ने प्रहरी सहायक हवलदार प्रकाश पुनमगर हुन्। उनलाई प्रहरीले नियन्त्रणमा लिएर दुई नम्बर गण पुर्‍याएको छ। बालुवाटारस्थित निवासमा भएको गोली प्रहारमा वर्षमानकी आमा तिर्थमालीमाथि शुक्रबार घाईते भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। वर्षमान पुन र उनकी धर्मपत्नी ओनसरी घर्तीमगर यतिबेला चीन उपचार गराइरहेका छन्। उनीहरु नभएको बेला घरमा आमाको सुरक्षार्थ खटिएका प्रहरीले गोली प्रहार गरेका थिए। गोली प्रहार गर्ने पुनमगरको दरवन्दी प्रहरी प्रधानकार्यालयस्थित सुरक्षा महाशाखामा रहेको छ।
सत्यमोहन जोशीकी पत्नी राधादेवीको निधन काठमाडाैं। शताब्दी पुरूष सत्यमोहन जोशीकी पत्नी राधादेवी जोशीको निधन भएको छ। जाेशीकाे शनिबार विहान सय वर्षकाे उमेरमा किस्ट अस्पतालमा निधन भएकाे हाे। स्वासप्रश्वासकाे समस्या देखिएपछि केही दिन अघि उनलाइ अस्पताल भर्ना गरिएकाे थियाे। शताब्दी पुरूष सत्यमाहेन जाेशीकाे भने गत असाेज ३० गते १०३ वर्षकाे उमेरमा निधन भएकाे थियाे।
मिटरब्याजपीडितले मार्चपाससहित धर्ना दिने काठमाडौं। महोत्तरीसहितका जिल्लाबाट काठमाडौंमा न्यायका लागि संघर्ष गरिरहेका मिटरब्याजपीडितले शनिबार पनि मार्चपाससहित धर्ना दिने भएका छन्। मिटरब्याज तथा ठगीविरुद्ध किसान-मजदुर संघर्ष समिति नेपालको अगुवाइमा पीडितले शनिबार दिउँसो साढे १२ बजे शान्तिबाटिकामा मार्चपाससहित धर्ना दिन लागेको हो। सरकारले आफूहरुको माग सम्बोधन गर्न नचाहेको भन्दै वार्ता भंग गरेर संघर्षमा उत्रिएकाहरुले मिटरब्याजीलाई कारबाही गर्नुपर्ने, कीर्ते लिखत खारेज गर्नुपर्ने, हडपेको जमिन फिर्ता गराउनुपर्नेलगायतका माग राखेर काठमाडौं केन्द्रित संघर्ष गरिरहेका छन्।
मौरीपालनमा मोह रामपुर (पाल्पा)। पाल्पा रामपुरका जयनारायण न्यौपानेको समय बुढ्यौलीमा पनि मौरीको हेरचाह र मह उत्पादनमा बित्ने गरेको छ। रामपुर नगरपालिका-६ स्थित किसानटोलमा मौरी उद्योग सञ्चालन गर्दै आएका न्यौपाने पाल्पाकै नमूना र सफल मौरीपालन व्यवसायी हुन्। घर वरिपरिका फलफूलसहितको मौरीघारले भरिएको बगैँचामा दिनभर मौरीको रेखदेख, हेरचाहमै रमाउने न्यौपाने यस क्षेत्रकै मौरीपालन व्यवसायमा अब्बल कृषकका रुपमा कहलिएका छन्। उनको घरमा हाल मौरीगोलासहित चालिस घार छन्। आफ्नै करिब चार रोपनी क्षेत्रफलमा बगैँचासहितको मौरीपालन गरिरहेका छन्। आजभन्दा साढे दुई दशकअघि देखि सुरु गरेको व्यवसाय अहिलेसम्म निरन्तर रुपमा अगाडि बढाइरहेका छन्। “मौरीपालनमा लागेपछि समय बिताउन समस्या छैन, बुढ्यौलीमा घर वरपरका बगैँचामा मौरीपालन गरेर आम्दानी मात्र नभई घरमा यससम्बन्धी ज्ञान सीप सिक्न आउनेलाई प्रविधि सिकाउने गरिरहेको छु”, उनले भने। गोलासहितको मौरीघार रु नौ हजार, खालीघार रु पाँच हजारमा बिक्री भइरहेको छ। यहाँ उत्पादन भएको मह प्रतिकिलो रु एक हजार एक सयमा बिक्री हुने गरेको छ। एक वर्षमा करिब एक सय मौरीघार बिक्री भइरहेको छ। एक घारमा वर्षमा तीन पटक मह उत्पादन हुने गर्दछ। वार्षिक करिब डेढ क्वीन्टल मह उत्पादन हुने गरेको न्यौपाने बताउँछन्। एउटा घारमा एक वर्षमा १८ किलोसम्म मह उत्पादन लिएको उनको भनाइ छ। आफूले सक्दासम्म व्यवसायलाई निरन्तर चलाउने उनको अठोट छ। मौरीघार (खालीघार), गोलासहित र मह बिक्री गरेर उनले एक वर्षमा रु छ लाखसम्म आम्दानी गर्दै आएका छन्। उनी भन्छन्, “लगानी धेरै गर्न नपर्ने, सानो लगानीबाट धेरै आम्दानी लिन सकिने, पशुपालनलाई झै आहार व्यवस्थान गर्न नपर्ने भएपछि मौरीपालनबाट धेरै फाइदा लिन सकिन्छ, स्वास्थ्यका लागि पनि हितकारी हुने भएपछि यो व्यवसाय आनन्दको छ।” उनले विसं २०५५ देखि व्यावसायिक रुपमा मौरीपालन गर्दै आएका छन्। घरमा परम्परागत (मुढेघार) १५/२० घारमा बाउबाजेले मौरीपालन गरेको देखेपछि व्यावसायिक रुपमा नै उहाँले आधुनिक घारबाट अगाडि बढेका हुन्। उनले भारतीय सेनाको जागिर बीचमै छाडेर गाउँ फर्केर मौरीपालनलाई व्यावसायिक रुपमा सुरु गरेका हुन्। स्वास्थ्यका लागि मह अति राम्रो हुने भएकाले पछिल्लो समय बजारमा माग बढ्दो रहेका र मह निकालेपछि झट्ट बिक्री नभए पनि अन्य कृषि उपजझै बिग्रियो भन्न नपर्ने भएकाले यसबाट कृषकले व्यावसायिक रुपमा मौरीपालनबाट धेरै लाभ लिन सक्ने उनका छोरा हुमनाथ न्यौपाने बताउँछन्। “महका लागि अहिले विभिन्न ठाउँबाट माग आइरहेको छ, मह औषधिको रुपमा, पूजाआजामा प्रयोग गरिने भएकाले बजार राम्रै छ, स्थानीयस्तरमा भन्दा बाहिर धेरै खपत भइरहेको छ”, उनले भने। उनका अनुसार मङ्सिर, फागुन र साउनमा मह निकाल्ने गरिन्छ। स्थानीय उत्पादन भएकाले यहाँ उत्पादित मह अष्ट्रेलिया, जापानमा कोसेलीको रुपमा पुगेको छ। रामपुर ६ कै ज्येष्ठ नागरिक टिकाराम पाठक पनि मौरीपालनमै रमाइरहेका छन्। मौरी उनका लागि बुढेसकालको साहारा जस्तै बनेको छ। उनका घरमा हाल १६ आधुनिक मौरीका घार छन्। उनले २०६६ देखि नियमित रुपमा मौरीपालन व्यावसाय गरिरहेका छन्। पाठकले घार बढाउँदै गएका छन्। “मौरीको वर्गीकरण, रानी मौरी पहिचान, गोला निरीक्षण, गोला विभाजनलगायत प्रविधि सिकेपछि व्यवसायमा सजिलो भएको छ, मौरीपालनमा मह काढ्ने तरिका, गोला विभाजन लगायतका प्रविधिमा पोख्त बन्नुपर्छ, सानो प्रविधि जानिएन भने व्यवसायीकरणमा समस्या हुन्छ”, उनले भने। कृषि ज्ञान केन्द्र पाल्पाले मौरीपालनलाई व्यवसायीकरण गर्न विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम गरिरहेको कार्यालयका प्रमुख कामना अधिकारी बताउँछन्। मौरी प्रवद्र्धनलाई विगतका वर्षदेखि कार्यालयले विभिन्न कार्यक्रम गरिरहेको र यसवर्ष कृषकको क्षमता बृद्धिको लागि विभिन्न तालिम, सेरेना मौरी वंश सुधारका लागि पूर्वी रुकुम र जुम्लाबाट रानो ल्याएर मौरी संरक्षण गर्ने कार्यक्रम रहेको प्रमुख अधिकारीले बताए। उनका अनुसार पूर्वी रुकुमबाट रानो ल्याइसकेको र जुम्लाबाट ल्याउने तयारी भइरहेको छ। “स्थलगत प्रविधि सिकाउन थालेपछि मौरीपालनमा कृषकको आकर्षण बढेको छ”, उनले भने, “व्यवसाय गर्न ईच्छुकलाई प्रविधि, मौरीपालनका लागि आवश्यक पर्ने विभिन्न उपकरण तथा सामग्री कार्यालयले आवश्यकताको आधारमा सहयोग गरिरहेको छ।
आजको मौसम : मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना काठमाडौं। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले शनिबार केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार शनिबार दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागको मौसम आंशिक बदली रहनेछ। सुदूरपश्चिम तथा कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थान र बाँकी भू-भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। शनिबार राति देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागको मौसम आंशिक बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ।
अघिल्लो वर्ष सुल्झन नसकेको लाल मोहम्मद हत्याकाण्ड काठमाडौं। गत ३ असोजमा मारिएका सर्लाही सिसौरिया– ६ का ५८ वर्षीय लाल मोहम्मद भनिने मोहम्मद दर्जीको हत्यारा अहिलेसम्म पक्राउ पर्न सकेका छैनन्। नेपालमा भारतीय अपराधीहरुले उतैबाट सुटर ल्याएर उनको हत्या भएको भन्ने निष्कर्ष बाहेक प्रहरीले हत्यारालाई अहिलेसम्म पक्राउ गर्न सकेको छैन। २०७९ सालको एउटा ‘हाइ प्रोफाइल’ बनाइएको यो हत्याकाण्ड सबैभन्दा बढी चर्चामा आएको थियो। उनी आफैँ शंकास्पद हुनु र उनीमाथि पटक पटक आक्रमण हुनुले हत्यापछि उनको बढी चर्चा भएको थियो। प्रहरीले दिएको जानकारी अनुसार पाँच वर्षअघि लालको हत्या गर्न ‘सुपारी’ लिएर आएका दुई भारतीय ‘सार्पसुटर’लाई प्रहरीले जोरपाटी नारायणटारबाट पक्राउ गरेको थियो। प्रहरीको विशेष ब्युरो (एबी)ले २१ असोज ०७४ मा रक्सोलका दीपककुमार श्रीवास्तव र रञ्जनकुमार यादवलाई नारायणटारबाट पक्राउ गरेको थियो। उनीहरूको साथबाट प्रहरीले हतियारसमेत बरामद गरेको थियो भने प्रहरी वृत्त बौद्धमा मुद्दा चलेको थियो। उनीहरुले त्यतिबेला पनि लाल मोहम्मदमाथि आक्रमण प्रयास गरेका थिए। प्रहरीले लामो समयसम्म उनको हत्याको विषयमा खोजी गर्यो हत्याराहरु भारत प्रवेश गरेको भन्दै उनीहरुलाई ल्याउन भारतीय सुरक्षा अधिकारीहरुसँग पहल पनि गरेको थियो। गत माघमा भारतीय सुरक्षा अधिकारीहरुले खोजेर पठाइदिने आश्वसन पनि दिएका थिए। तर अहिलेसम्म ल्याउन वा पठाउन सकेको छैन। अन्य अपराध भन्दा पनि यो अन्तरदेशीय अपराध भएकै कारण बढी चासो हुने भएकाले भारत र नेपाल दुवै पक्षका सुरक्षाकर्मीले समान चासो दिनुपर्नेमा अहिलेसम्म यसलाई त्यतिकै राख्न लागेको आभाष हुन थालेको छ। प्रहरीका अनुसार लाललाई ०७४ को असोज दोस्रो साता नारायणटारस्थित उनको गार्मेन्ट कारखानामै हत्या गर्ने प्रयास भएको थियो। उनको गार्मेन्ट कारखाना त्यसबेला नारायणटारमा थियो। भारतबाट हत्या गर्न आएका दीपककुमार र रञ्जन जबर्जस्ती गार्मेन्टमा छिरेका थिए। त्यसक्रममा लालकी छोरीसँग उनीहरूको घम्साघम्सी परेको थियो  उनीहरूले हतियारसमेत निकालेका थिए। तर, मोहम्मद नभेट्टाएपछि उनीहरू फर्किएका थिए। २०७९ साल असोज ३ मा त्यही समूह आएर उनीमाथि आक्रमण गरी हत्या गरेको प्रहरीको दाबी छ। त्यसअघि लाललाई भारतीय सुटरले नक्खुस्थित कारागारभित्रै गोली प्रहार गरी हत्या गर्ने योजना बनेको थियो। प्रहरीका अनुसार विशेष ब्युरोका एक पूर्वअधिकृतका अनुसार केन्द्रीय कारागार सुन्धरामा रहेका युनुश अन्सारीको हत्या प्रयासकै बखत उनको हत्या गर्ने योजना थियो। युनुशमाथि २६ फागुन ०६७ मा केन्द्रीय कारागारभित्रै छिरेर हत्या प्रयास भएको थियो। त्यतिबेला अनामनगरमा भएको एक हत्या अभियोगमा पक्राउ परेका लाललाई ललितपुरस्थित नक्खु कारागारमा राखिएको थियो। प्रहरीले योजनाको सुराकी पाएपछि उनलाई कारागार व्यवस्थापन विभागले रसुवास्थित कारागारमा गोप्य तबरले सरुवा गरेपछि उनी बचेका थिए। लाल मोहम्मद २० असार ०६४ मा अनामनगरस्थित पुलमा नक्कली भारतीय नोटका कारोबारी बलराम पटुवारको हत्यामा संलग्न थिए। ‘सार्पसुटर’को भूमिकामा रहेका उनलाई प्रहरीले पक्राउ गरेको थियो। सोही अभियोगमा उनी पुर्पक्षका लागि नक्खु कारागार पुगेका थिए। काठमाडौं जिल्ला अदालतले उनीविरुद्ध नौ वर्ष कैद सजाय सुनुवाइ गरेको थियो। सजाय भुक्तानपछि उनी २५ जेठ ०७३ मा जेलमुक्त भएका थिए। उनी जेलबाट छुटेदेखिनै भारतीय अपराधीको निगरानीमा परिसकेका थिए। त्यसैको परिणाम गत असोज ३ मा उनीमाथि गोली प्रहार भएको थियो। तत्कालिन काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख तत्कालिन एसएसपी जनकराज भट्टराई नेतृत्वमा अनुसन्धान समिति बनेको थियो। सो समितिले उनीमाथि भारतीय अपराधीले गोली प्रहार गरेको निष्कर्ष निकालेको थियो। त्यतिबेला काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंले असोज १४ मा लाल मोहम्मद हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेकाहरूबारे जानकारी दिइएको थियो। प्रहरीको दाबी अनुसार‚ २१ वर्षीय महोरम मियाँ र १९ वर्षका रेहान मियाँ घटनाका योजनाकार एवं हतियार व्यवस्थापनको भूमिकामा देखिएका थिए। दुवै जना वीरगञ्जका भएपनि उनीहरुको खास ठूलो भूमिका देखिएको थिएन। मकवानपुरको बकैया गाउँपालिकाकी २१ वर्षकी सुमी भनिने सुस्मिता स्याङ्तानले चाहिं मोहम्मदको गतिविधि निगरानी गर्ने जिम्मा पाएकी थिइन्। उनीहरुलाई पक्राउ गरेर नेपाल प्रहरी अहिले चुपचाप बसिरहेको छ।
शिक्षक सङ्घको केन्द्रीय अध्यक्षमा गिरि काठमाडौं। नेपाली कांग्रेस निकट नेपाल शिक्षक सङ्घको केन्द्रीय अध्यक्षमा सोमनाथ गिरी निर्वाचित भएका छन्। सङ्घको नवौँ महाधिवेशनको आज सम्पन्न मतगणनामा गिरीले अर्का अध्यक्षका उम्मेदवार गोकर्णबहादुर बानियाँलाई सात मतले पराजित गर्दै विजयी भएका हुन्। अध्यक्ष गिरीले तीन सय पाँच मत प्राप्त गरे भने अर्का उम्मेदवार बानियाँले दुई सय ९८ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत दीपकलाल खतिवडाले जानकारी दिए। वरिष्ठ उपाध्यक्षमा इलमबहादुर शाही, महिला उपाध्यक्षमा धना भण्डारी, कोशी प्रदेश उपाध्यक्षमा वीरेन्द्रकुमार खड्का, मधेश प्रदेश उपाध्यक्षमा छोटेलालप्रसाद साह, बागमती प्रदेश उपाध्यक्षमा सुन्दर पन्त, गण्डकी प्रदेश उपाध्यक्षमा लक्ष्मीप्रसाद रेग्मी, लुम्बिनी उपाध्यक्षमा प्रेमप्रसाद भण्डारी, कर्णाली उपाध्यक्षमा भगवती श्रेष्ठ र सुदूरपश्चिम उपाध्यक्षमा खड्कबहादुर खड्का विजयी भएका छन्। महासचिवमा ज्ञानेन्द्रबहादुर रावल, महासचिव अर्थमा निर्मला कोइराला, उपमहासचिवमा नारायणप्रसाद तिमल्सिना, उपमहासचिव महिलामा गीता शिवाकोटी, उपमहासचिव अर्थमा प्रेमप्रसाद पौडेल, उपमहामहासचिव मधेशमा तीर्थराजप्रसाद यादव, उपमहासचिव समावेशीमा सीतादेवी थापा र उपमहासचिव कर्णालीमा कालीबहादुर शाही विजयी भएका छन्। शिक्षक सङ्घबाट कांग्रेसको महाधिवेशनमा भाग लिन जाने प्रतिनिधि आजै चयन गरिएको प्रमुख निर्वाचन अधिकृत खतिवडाले जानकारी दिए । शिक्षक सङ्घबाट कांग्रेसको महाधिवेशन प्रतिनिधि बन्नका लागि भएको निर्वाचनमा निवर्तमान अध्यक्ष राजेन्द्रराज पौडेल, लक्ष्मीकिशोर सुवेदी, लक्ष्मणदत्त भट्ट, यमपी भुसाल, पद्मिनी थापा र सीता गैह्रे निर्वाचित भएका थिए।
केबलकार सञ्चालन भएपछि मौलाकालिका मन्दिरमा भक्तजनको घुइँचो नवलपुर। नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा रहेको ऐतिहासिक धार्मिकस्थल मौलाकालिका मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । यस मन्दिरमा शुद्ध मनले पूजा गरे मनोकांक्षा पूरा हुने विश्वासका कारण भारतबाट दर्शनार्थी आउने गरेका छन् । यस मन्दिरमा नयाँ वर्षसँगै विजया दशमी, माघे सङ्क्रान्ति, सरस्वती पूजा तथा चैते दसैँलगायतका पर्वमा भक्तजनको अत्यधिक भीड लाग्ने गरेको छ । मन्दिरमा माताको दर्शका लागि नवलपुर तथा चितवनका साथै देशका विभिन्न स्थान र भारतबाट भक्तजन आउने गरेका छन् । समुद्री सतहबाट पाँच सय ६१ मिटर उचाइमा पहाडी वनको धुरीमा मौलाकालिका भगवतीको मन्दिर अवस्थित छ । १६औँ शताब्दीमा पाल्पा राजा मणिमुकुन्द सेनले देवी कलिकाको नाममा ‘प्रतीक’ को प्रतीकात्मक प्रस्तुतिस्थल सिर्जना गरेपछि यस पर्वतको नाम मौला पहाड रहन गएको ऐतिहासिक महत्व भएको मन्दिरका मूल पूजारी क्षेत्रप्रसाद पराजुलीले बताए । “१६औँ शताब्दीमा नवलपुरसहित यस ठाउँ पाल्पा राज्यको रुपमा अवस्थित थियो । यहाँ राजा मणिमुकुन्द सेनले आफ्नो सुरक्षाका निम्ति सेनाको ब्यारेक स्थापना गरेका थिए”, पराजुलीले भने, “राजा यस ठाउँमा आएर स्नान र पूजा गर्थे । सेनाले भगवानको आस्थास्वरुप देवीको स्थापना गरेर पूजा गर्ने गरेका थिए ।” विसं १९९० को भूकम्पमा सबै सखाप भएर मौलाकालिका माताको पूजा गर्ने ठाउँ जङ्गल हुन पुगेको धार्मिक सेवा समिति मौलाकालिका अध्यक्ष शालिकराम सापकोटाले बताए। “भूकम्पको करिब ४० वर्षपछि यसै ठाउँमा काशिनाथ पौडेल भन्ने ब्राह्मणले सपनामा सेतो कपडा लगाएकी महिलाले ‘म देवी हुँ मलाई उद्धार गर, म एउटा ठूलो डाँडाको सालको बुटामुनि अलपत्र छु’ भनेर गइन् भन्ने गरिएको छ”, सापकोटाले भने, “भोलिपल्ट ती ब्राह्मणले छिमेकीलाई भन्न जाँदा कुमारसिंह गुरुङले उनको कुरामा विश्वास गरेर उनको सहयोगमा हात हतियार बोकेर जङ्गल फडानी गर्दा डाँडाको टुप्पामा ठूलो सालको रुख भेटाए ।” रुखको तल खोस्रिएर हेर्दा खिया लागेको घण्टी, ओखलको ढुङ्गा, कालिकाको शिला भेटाएपछि पूजा गर्ने ठाउँ बनाइएको उनले बताए । “त्यहाँ उत्पत्ति भएको कालिकाको प्रभावले विभिन्न ठाउँबाट भक्तजन आउन लागे”, सापकोटाले भने, “आस्था र भक्तिको प्रभावले विभिन्न ठाउँबाट आएका भक्तजनले मनकामना पूरा हुने बताउन थालेपछि भक्तजन निरन्तर आउने क्रम बढेको छ ।” हिन्दू पौराणिक कथाअनुसार देवी, काली वा कलिका माईलाई ऊर्जा, शक्ति र नयाँ सुरुआतको प्रतीक मानिने उनले बताए । मौलालिका मन्दिरलाई स्थानीयस्तरबाट धेरै पटक पुनःस्थापित गरिएको सापकोटाको भनाइ छ । मन्दिरमा दर्शनका लागि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, रामवरण यादव, पूर्वराजा, पूर्वराजकुमार, नेपाली सेनाका प्रधानसेनापति, नेपाल प्रहरीका पूर्वप्रमुख, प्रमुख, मन्त्री र उच्च पदस्थ सरकारी अधिकारी पुगिसकेका छन् । विश्व प्रसिद्ध योग गुरु राम देव, आचार्य बालकृष्णले पनि सन् २०११ मा मन्दिरको दर्शन तथा भ्रमण गरेका छन् । सिँढीमार्ग हुँदै मन्दिर पुग्न करिब एक हजार आठ सय ८२ खुड्किला उक्लनुपर्छ । गैँडाकोटबाट मौलाकालिकाको फेदीसम्म यातायातको व्यवस्था रहेको छ भने करिब एक घण्टाको सिँढीमार्गबाट पैदल यात्रा गर्दै उकालो उक्लिएर तथा मोटरसाइकल र अटो चढेर मौलाकालिका मन्दिरसम्म पुग्न सकिन्छ । मौलाकालिका मन्दिरसम्म पुग्नका लागि आजदेखि मौलाकालिका केबलकार सञ्चालनमा आएको छ ।
भैरव र भद्रकालीको रथ जुधाइयो भक्तपुर। भक्तपुरको प्रसिद्घ बिस्केट जात्राको प्रमुख जात्रा मानिने लिङ्गो जात्रा आज साँझ लिङ्गो ढालेर सम्पन्न भएको छ। तान्त्रिक विधिअनुरूप पूजाअर्चना गरी आज साँझ लिङ्गो ढालिएर यो जात्रा सम्पन्न गरिएको हो। बिस्केट जात्राको चौथो दिन चैत ३० गते हिजो करिब पौने चार घण्टाको प्रयासपछि राति ७ बजेर ४० मिनेटमा भेलुखेलस्थित ल्यासिङ्खेलमा लिङ्गो ठड्याइएको थियो। पचपन्न हात लामो लिङ्गो तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरी आज एक घण्टाको प्रयास पछि ढालिएको थियो। लिङ्गो ठड्याउनुअघि लिङ्गोको कोखा (टुप्पो)मा नाग र नागिनीको प्रतिकस्वरूप दुईवटा विश्व ध्वजा बाँधेर अष्टमातृकाका प्रतीक आठ वटा डोरीले तानेर उक्त लिङ्गो ठड्याइने प्रचलन रहेको छ। त्यही आठ वटा डोरीले आठ कुनामा बसेर लिङ्गो ढालिएको थियो। लिङ्गोको कोखामा झुण्ड्याइएका दुईवटा ध्वजालाई वीरध्वजा, विश्वध्वजा, र आकाशभैरवका ध्वजासमेत भनिन्छ। भक्तपुरको प्रसिद्घ बिस्केटको लिङ्गो जात्रा हेर्नाले सुख, समृद्घि,सहकाल आउनुका साथै शत्रु नाश हन्छन् भन्ने धार्मिक मान्यता रहेकाले यस जात्रालाई शत्रुहन्ता जात्रा पनि भन्ने गरिएको इतिहास तथा संस्कृतिविद् डा पुरुषोत्तमलोचन श्रेष्ठ बताउँछन्। लिङ्गो उभ्याइने र ढाल्ने जात्रा नै बिस्केटको प्रमुख जात्रा हो। मल्ल राजाले भैरवनाथ र भद्रकालीको रथ जात्रा समावेश गरी तान्त्रिक पूजाविधि विधानसमेत थप गरी आठ रात नौ दिनसम्म जात्रा मनाउने प्रचलन थालिएको बताइन्छ। लिङ्गो ढालेपछि ल्योसिङखेलबाट भैरवनाथको रथ गःहिटीमा ल्याएर भैरवनाथ र भद्रकालीको रथ जुधाइएको छ। यसलाई स्थानीय भाषामा द्यो ल्वाकिगु भनिन्छ। जात्रामा रथ जुधाउनु अघि बेताल देवतालाई गःहिटीमा ल्याएपछि झ्यालबाट कुखुरा दिई बली चढाएर रथ जुधाउने परम्परा रहेको छ। भैरवनाथ र भद्रकालीको रथ जुधाउने जात्रा सम्पन्न भएपछि ती दुवै देवदेवीको पूजा गरिने परम्परा छ। बिस्केट जात्राको छैठौ दिन अर्थात वैशाख २ गते मध्यपुर थिमि बालकुमारी स्थित बिहान सिन्दुर जात्रा गरी दिउँसो बोडेमा जिब्रो छेड्ने जात्रा मनाइने गरिन्छ ।
मौलाकाली केबलकार सञ्चालनमा, पाँच मिनटमै मन्दिर पुग्न सकिने नवलपुर। नयाँ वर्ष २०८० को सुरुआतसँगै नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा ‘मौलाकाली केबलकार’ सञ्चालनमा आएको छ। गैँडाकोटमा रहेको ऐतिहासिक धार्मिकस्थल मौलाकालिका मन्दिर जाने यात्रुलाई लक्षित गरी निर्माण गरिएको केबलकार आजदेखि सञ्चालनमा आएको हो। नयाँवर्षको अवसर पारेर आजदेखि सेवा सुरु गरिएको मौलाकाली केबलकार व्यवस्थापन विभागका प्रमुख अभिषेक विक्रम शाहले जानकारी दिए। केबलकारको बटम स्टेशनबाट गैँडाकोट नगरपालिका वडा नं ६ निवासी सय वर्षीया वृद्धा सरस्वती कँडेल र टप स्टेशनबाट नवलपुरका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले पहिलो यात्रुका रुपमा यात्रा गरेका थिए। केबलकारमार्फत मौलाकाली मन्दिरसम्म पाँच मिनेटमै पुग्न सकिनेछ। करिब दुई किलोमिटर लामो केबलकारमा १२ वटा गोन्डोला रहेका छन्। हाल केबलकारले दुइतर्फी मूल्य रु पाँच सय ५० कायम गरिएको शाहले जानकारी दिए। उनका अनुसार केबलकारले तीनदेखि चार फिटसम्मका बालबालिकाका लागि रु तीन सय ३०, विद्यार्थीका लागि रु चार सय १५, ज्येष्ठ नागरिकका लागि रु चार सय १५ र फरक क्षमता भएकाका लागि रु दुई सय ७५ को टिकट दर राखिएको छ। केबलकारले ८० वर्षमाथिका वृद्धवृद्धा र तीन फिटभन्दा कमका बालबालिकाका लागि निःशुल्क सेवा दिने जनाएको छ। आइएमई समूहको प्रवद्र्धनमा करिब दुई वर्षअघिदेखि निर्माण सुरु गरिएको केबलकारले आजदेखि नियमित सेवा सुरु गरेको शाहले बताए। केबलकारको एउटा डब्बा (गोन्डुला)मा एक पटकमा आठ जना यात्रु चढ्न सक्ने व्यवस्था रहेको भन्दै शाहले केबलकारबाट पाँच मिनेटमा मन्दिर पुगिने बताए। “नेपालमा भित्रिएको सबैभन्दा अत्याधुनिक प्रविधियुक्त केबलकार भएकाले यात्रुहरु पूर्णरुपमा सुरक्षित रहनुहुनेछ”, उनले भने, “अहिले हामीले बिहान ६ बजेबाट केबलकार चलाउँछौँ, आवश्यकताअनुसार चौबीसै घण्टा सञ्चालन गर्न सकिन्छ ।” केबलकारको बटम स्टेशनबाट अपर स्टेशनसम्म एक हजार दुई सय मिटर दूरीमा छवटा टावर निर्माण गरिएको शाहले बताए। यात्रु बोक्ने १२ वटा डब्बा (गोन्डुला)मा एउटा सामान बोक्ने तथा अर्को सर्भिसिङ डब्बा राखिएको उनको भनाइ छ। एउटा गोन्डुलामा एक पटकमा आठ जना यात्रु अटाउने क्षमता छ। आईएमई समूहको ५१ प्रतिशत र स्थानीयको ४९ प्रतिशत लगानी रहने गरी स्थापना गरिएको केबलकार गैँडाकोट–१ धारापानीबाट चढ्ने र मन्दिर नजिक ओर्लने स्टेशन राखिएको छ। माथिल्लो स्टेशनसँगै ६० कोठा रहने गरी चार तारे होटल निर्माणको काम तीव्ररुपमा अगाडि बढेको पनि शाहले जानकारी दिए। केबलकारको निर्माण अष्ट्रियन कम्पनीले गरेको हो। सञ्चालनको पहिलो दिननै पाँच हजारभन्दा बढी यात्रुले केबलकारको सेवा लिएका शाहको भनाइ छ। नयाँ वर्षको अवसर पारेर आजदेखि सञ्चालन गरिएको केबलकारको उद्घाटन भने केही दिनपछि गरिने शाहको भनाइ छ।
‘विपद् व्यवस्थापनमा स्थानीय पालिकाको क्षमता अभिवृद्धि गर्नुपर्छ’ काठमाडाैं। रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासंघ (आएएफआरसी) र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उच्च पदाधिकारीबीचमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा थप आपसी समन्वय र सहकार्य गर्दै जाने भएका छन्। आएएफआरसीले नेपाल रेडक्रस सोसाइटीमार्फत आफ्नो मानवीय सेवामा सहयोग गर्दै आएको छ। आइएफआरसीका राष्ट्रिय प्रतिनिधिमण्डल प्रमुख अजमत उल्ला र प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलका बीचमा बिहीबार छलफल भएको थियो। उनीहरुले विपद् व्यवस्थापन गर्न स्थानीय पालिकाहरुको क्षमता अभिवृद्धिमा जोड दिएका थिए। आइएफआरसीका राष्ट्रिय प्रतिनिधिमण्डल प्रमुख उल्लाले आइएफआरसीका मानवीय सेवाका बारेमा जानकारी गराएका थिए भने प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलले प्राधिरकणका पछिल्ला गतिविधि प्रस्तुत गरेका थिए। आइएफआरसीले गत माघमा नेपाल रेडक्रस सोसाइटीलाई ३० नयाँ एम्बुलेन्स र १५ स्तरोन्नति गरिएका एम्बुलेन्स हस्तान्तरण गरेको थियो। यस परियोजनाका लागि अनुमानित स्वीस फ्रयाक करिब १२ लाख ९रु १६ करोड ७८ लाख० सहयोग भएको उसले जनाएको छ। उसले २०२२ मा नेपाल रेडक्रसलाई ‘डबल क्याबिन’ भएका १० ‘पिकअप गाडि’ हस्तान्तरण गरेको थियो। अर्कोतर्फ आइएफआरसीले कोभिड-१९ प्रतिकार्यमा आफ्नो सहयोग जारी राखेको छ। पछिल्लो समय उसले विशेष गरी कोभिड-१९ को विरुद्धको खोप सर्वसाधारणसम्म पहुँच पुर्‍याउन रेडक्रस सोसाइटीलाई निरन्तररुपमा सहयोग उपलब्ध गराइरहेको हो। आइएफआरसीले नेपालमा कोरोना सङ्क्रमणको जोखिमका अवस्थादेखि नै ‘कोभिड-१९ प्रतिकार्य’ योजना बनाई जोखिमका बारेमा सञ्चार तथा सामुदायिक संलग्नता र जवाफदेहितासम्बन्धी अवधारणाका माध्यमबाट सहयोग गरेको थियो। सुरक्षित र उत्थानशील समुदाय निर्माण गर्नका लागि रोकथामका उपाय, अत्यावश्यक मेडिकल सेवामा सहयोग, सामाजिक आर्थिक प्रभावलाई सम्बोधन र खोप अभियानमा सहयोगजस्ता नेपालमा कोभिड-१९ कार्यसञ्चालनका उसका मुख्य क्षेत्र छन्। अहिले २२ जिल्लामा खोपसम्बन्धी गतिविधिमा नेपाल रेडक्रसलाई सहयोग जारी राखेको नेपालस्थित आइएफआरसी कार्यालयले जनाएको छ। आइएफआरसीका राष्ट्रिय प्रतिनिधिमण्डल प्रमुख उल्लाले भने, “सुरक्षित र उत्थानशील समुदाय निर्माण गर्नका लागि कोभिड-१९ प्रतिकार्यमा सहयोग जारी छ। यसका अतिरिक्त विपद् तथा स्वास्थ्यसँग सम्बन्धित आपत्कालीन परिस्थितिभन्दा पहिले, त्यस्ता परिस्थितिको अवधिमा र त्यस्ता परिस्थिति संकटासन्न मानिसका आवश्यकताको पूर्ति गर्नका लागि एवं तिनको जीवन सुधार ल्याउनेजस्ता मानवीय सेवाका कार्यक्रम जारी छ। आइएफआरसीको रणनीति २०३० ले १९२ रेडक्रस तथा रेडक्रिसेन्टको सामूहिक महत्वाकांक्षा प्रतिनिधित्व गर्दछ र भविष्यमा लागि संगठनको दूरदृष्टि खाका प्रस्तुत गर्दछ।” नेपाल रेडक्रसले आइएफआरसीको सहयोगमा सन् २०२२ मा आफ्ना कार्यक्रम तथा सेवाद्वारा पाँच मुख्य रणनीतिक प्राथमिकतामाथि जोड दिँदै संकटासन्न समुदायलाई मानवीय सहायता उपलब्ध गराएको थियो। यसमा जलवायु तथा वातावरणीय संकटमा १२ हजार दुई सय ५९, विकसित हुँदै जाने संकट तथा विपद्मा एक लाख २२ हजार चार सय ४१, स्वास्थ्य तथा कल्याण तीन लाख चार हजार तीन सय चार, मूल्य, शक्ति तथा समावेशीता १५ हजार एक सय २३ लाभान्वित भएका थिए। सन् २०१५ अप्रिल २५ मा नेपालमा गएको अकल्पनीय ‘गोरखा भूकम्प’पश्चात् आइएफआरसीले भूकम्प प्रभावितको खोज, उद्धार तथा राहत वितरणमा महत्वपूर्ण सहयोग गरेको थियो। साथै उसले भूकम्प अतिप्रभावित १४ जिल्लामा आवास निर्माण, स्वास्थ्य, सरसफाइमा सहयोग गरेको थियो। आइएफआरसीका राष्ट्रिय प्रतिनिधिमण्डल प्रमुख उल्लाले भने, “नेपालमा आइएफआरसीले नेपाल रेडक्रस सोसाइटीसँग घनिष्ठरुपमा मिलेर काम गर्दछ।” नेपाल रेडक्रसले मुलुकका सात प्रदेश तथा ७७ जिल्ला शाखा तथा एक हजार पाँच सयभन्दा बढी उपशाखाका माध्यमबाट विपद् पूर्वतयारी, आपत्कालीन परिस्थिति, स्वास्थ्य तथा समावेशीताका क्षेत्रमा सरकारको सहयोगीका रुपमा काम गर्दछ। एक लाख २५ हजारभन्दा बढी सक्रिय स्वयंसेवकले नेपाल रेडक्रसका माध्यमबाट मानवीय हितमा योगदान पुर्‍याउँद छन्। आवास बनाउन सहयोग आइएफआरसीको आर्थिक सहयोगमा नेपाल रेडक्रसले डोटी, अछाम र बझाङका भूकम्प अतिप्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण, अत्यावश्यक वस्तु खरिद र शौचालय निर्माणका लागि आर्थिक सहयोग प्रदान गरिरहेको छ। डोटीको पूर्वीचौकी गाउँपालिका-३ गैरगाउँ केन्द्रविन्दु बनाएर गत कात्तिक २३ गते बिहान गएको ६ दशमलव ६ म्याग्नेच्युडको भूकम्पबाट सो गाउँका छ जनाको अकालमा मृत्यु भएको थियो।
नयाँ वर्षमा पशुपतिनाथलगायत मन्दिरमा भक्तजनको भीड काठमाडाैं। नयाँ वर्षको अवसरमा पशुपतिनाथलगायत राजधानीका मुख्य-मुख्य मन्दिरमा भक्तजनको बिहानैदेखि भीड लागेको छ। विगत एक दशकअघिदेखि नयाँ वर्षका अवसरमा पशुपतिनाथ मन्दिरमा लाखौँ भक्तजनको भीड हुन थालेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। भक्तजनलाई सहज होस् भनेर आज बिहान ४ बजेदेखि नै पशुपतिनाथ मूल मन्दिरका चार ढोका खुला गरिएको कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशंकर पराजुलीले जानकारी दिए। मन्दिरमा अहिले पनि लाखौं भक्तजन पूजा, आराधना एवं दर्शनका लागि लाममा बसेका छन्। साउनको सोमबार, तीज र महाशिवरात्रिकै झल्को दिने गरी भक्तजन बिहानैदेखि पशुपतिनाथ मन्दिर क्षेत्रमा जम्मा भएका छन्। भक्तजनलाई प्रहरी पहरा गण, सशस्त्र प्रहरी बल र प्रहरी कार्यालय गौशालाको टोलीले सुरक्षा दिएको छ। प्रहरी पहरा गणका प्रहरी निरीक्षक कृष्णदेव आउने भक्तजनलाई सहजरुपमा दर्शन गराएर पठाएको बताउँछन्। प्रहरीले ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई दर्शनमा प्राथमिकता दिएको जनाएको छ। नयाँ वर्षका अवसरमा पशुपतिनाथसँगै राजधानीका गोकर्णेश्वर, गोठाटारस्थित नवतनधाम, वसन्तपुरस्थित सानो पशुपतिनाथलगायत मन्दिरमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको जनाइएको छ। विसं २०८० को पहिलो दिन सार्वजनिक बिदा पनि भएकाले धेरै मानिस मठ मन्दिरमा भेला भएर दर्शन एवं पूजा, आराधना गरी नयाँ उमंगका साथ भेला भएको देखिन्छ। सडकमा विगतका दिनभन्दा कम सवारी साधन गुडेको देखिन्छ। सरकारी कार्यालयमा बिदा दिइएकाले पनि कम सवारी गुडेका हुन्।
सुदूरपश्चिममा आज ‘बिसु’ पर्व मनाइँदै धनगढी । सुदूरपश्चिम प्रदेशमा आज ‘बिसु’ पर्व धुमधामका साथ मनाइँदैछ । यहाँ नयाँ वर्षको पहिलो दिनलाई धुमधामका साथ बिसुपर्वका रूपमा मनाउने चलन छ । हरेक वर्ष बिसुमा मीठा–मीठा खानाका परिकार बनाउने र विशेष गरेर सिस्नु लगाउने चलन रहिआएको छ । यसका साथै देवर भाउजु, नन्द भाउजु र साली भिनाजुले एकापसमा सिस्नुपानी छ्यापेर यो पर्व मनाइन्छ । देवर नहुने र नन्द नहुने भाउजु, भाउजु नहुने देवर, भिनाजु नहुने साली र साली नहुने भिनाजुले बिसु तिहारको दिनमा आफैँले भए पनि शरीरमा सिस्नो लगाउने परम्परा छ । बिसुका दिन सिस्नो लगाउँदा वर्षभरि रोग नलाग्ने जनविश्वास छ । सिस्नो लगाउँदा छालामा भएका खटिरा निको हुने र छालासम्बन्धी रोग निर्मूल हुने जनविश्वास रहेको जयानन्द भट्टले बताए । पछिल्लो समय भने बिसुपर्वमा सिस्नो लगाउने चलन कम हुँदै गएको छ । “पहिला जस्तो रमाइलो गर्ने चलन हराइसकेको छ”, उनले भने। सुदूरपश्चिमको महत्वपूर्ण पर्वका रूपमा रहेको बिसु आउनुपूर्व नै घर रातो माटो र कमेरोले लिपपोत गर्ने गरिन्छ । नयाँ वर्ष आउनुभन्दा अघि नै घर लिपपोत गरेमा वर्षभरि सुख, शान्ति र समृद्धि आउँछ भन्ने विश्वास रहिआएको छ । वैशाख सुरु भएसँगै रोगब्याधी, महामारी र अनिकालको समय सुरु हुने भएकाले त्यसका लागि सिस्नो लगाउँदै घरपरिवारका सदस्यसँगै बसेर बिसु मनाउने चलन छ । बिसु मनाउन रोजगारीका लागि अन्यत्र गएकाहरु घर फर्किने गरेका छन् । सुदूरपहाडका अधिकांश सर्वसाधारण मजदुरीका लागि भारतका विभिन्न सहरमा जाने गरेका छन् । छोटो तथा लामो समयका लागि परदेशिएका स्थानीय चाडपर्वका लागि घर फर्कने गरेका छन् । साहित्यकार रमेश पन्त मीतबन्धु यसलाई विष फाल्ने पर्वका रूपमा लिने गरिएको बताउछन् । आज बिहानैदेखि पवित्र नदीमा स्नान गर्ने गरिन्छ । आजको स्नानले शरीरमा भएको विषाक्त पदार्थ हटेर जाने र जीवन विषमुक्त हुने विश्वास गरिन्छ । आयुर्वेदिक उपचारमा पनि सिस्नोको प्रयोगलाई विशेष महत्वका रूपमा लिने गरिन्छ । यस पर्वको अवसरमा सुदूरपश्चिमका विभिन्न शक्तिपीठमा आज विशेष पूजाआजा तथा मेला लाग्ने गर्दछ । आजको दिन इष्टमित्र तथा घरपरिवारका सदस्य मिलेर स्थानीय मौलिक परिकार लौन, सेल, माणा, पुरी, बटुक, डुब्कालगायत परिकार खाँदै बिसु मनाउने गर्दछन् ।
आजदेखि २०८० वर्ष सुरु, एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइँदै नयाँ वर्ष २०८० को पहिलो दिन आज एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइँदै काठमाडौं। आज विक्रम संवत् दुई हजार असी (२०८०) साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ। आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो। सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको राष्ट्रिय धर्मसभाका अध्यक्ष प्रा डा माधव भट्टराई बताउँछन्। “विक्रम ६० संवत्सरमध्ये एक र आदित्य सूर्यसँग सम्बन्धित भएकाले यसलाई विक्रमादित्य संवत् भनिएको हो, सूर्यको गति र स्थितिअनुसार विक्रम संवत् चल्दछ, शक संवत्का विशेषतादेखि इश्वी संवत्का व्यावहारिक गुण यसभित्र समावेश गरिएको छ”, उनले भने। सूर्य मेष राशिमा प्रवेश गर्दा सुरु भएर मीन राशि छोड्दा यो संवत्को पुरानो वर्ष सकिएर नयाँ वर्ष सुरु हुने भएकाले वैज्ञानिक रहेको विद्वनहरुको भनाइ छ। सौरमान र चान्द्रमानको समन्वय पनि यो संवत्मा भएको छ। कलि युग सुरु भएको तीन हजार ४४ वर्षपछि विक्रम संवत् सुरु भएको हो। हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलता/असफलता मूल्यांकन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं संकल्प गर्दछन्। आज बिहानै नुहाउने, घरकोठा–आँगन सफा गर्ने, मीठोमीठो खाने, साथीसंगाती तथा इष्टमित्रसँग भेटघाट गरी एकआपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ। विश्वका जुनसुकै कुनामा बस्ने नेपालीले वैशाख १ गतेलाई नयाँ वर्षका रुपमा मनाउँछन्। चान्द्रमानअनुसार चैत्र शुक्ल प्रतिपदाका दिन नै सुरु हुने नयाँ संवत्सर भने चैत ८ गतेदेखि नै सुरु भइसकेको समितिले जनाएको छ। चैत ८ गतेदेखि पिङ्गल नामको संवत्सर सुरु भएको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए। वैदिक सनातन हिन्दू धर्मअनुसार ६० संवत्सर छन्। यी संवत्सर आदि अनादिकालदेखि घुम्दै आएका छन्। षष्टि संवत्सरमध्येको पहिलोको नाम प्रभाव हो। अहिले चलिरहेको पिंगल ५१औँ संवत्सर हो। यसअघि नल नामको संवत्सर रहेको थियो। प्रत्येक संवत्सरको बेग्लाबेग्लै फल हुने ‘षष्टि संवत्सर’ नामक पुस्तकका लेखक वेदराज पन्त बताउँछन्।
निषेधित क्षेत्रमा पक्राउ परेका चिनियाँ नागरिकलाई काठमाडौँ पठाइयो किमाथाङ्का । सङ्खुवासभाको भोटखोला गाउँपालिका–१ किमाथाङ्का नाकाबाट पक्राउ परका चिनियाँ नागरिकलाई काठमाडौँ पठाइएको छ । सोमबार निषेधित क्षेत्र भोटखोला–१ को किमाथाङ्का नाकाबाट चिनियाँ नागरिक ३४ वर्षीय याङ यी पक्राउ परेका थिए । पक्राउ परेका चिनियाँ नागरिकलाई आज काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए । चिनियाँ नागरिक याङलाई जिल्ला प्रहरी कार्यालयमा अनुसन्धान गरेर थप अनुसन्धानका लागि अध्यागमन विभाग काठमाडौँ पठाइएको प्रनाउ गोदारले बताए । निषेधित क्षेत्र पुगेका चिनियाँ नागरिकलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको थियो । उनी किमाथाङ्का नाका किन आएका भन्न खुल्न सकेको छैन । किमाथाङ्काबाट यसअघि पनि एक चिनियाँ नागरिक पक्राउ परेका थिए । उनी रसुवागडी नाका हुँदै किमाथङ्का पुगेको प्रहरीले जनाएको छ ।
मप विश्वविद्यालयद्वारा २५ विज्ञ प्राज्ञ नियुक्त कर्णाली । मध्यपश्चिम विश्वविद्यालयले विद्यावारिधि तथा महाविद्यावारिधि गरेका २५ विज्ञ प्राज्ञ नियुक्त गरेको छ । विश्वविद्यालयले आज वीरेन्द्रनगर सुर्खेतमा पत्रकार सम्मेलन गरी प्राज्ञ नियुक्तिका साथै संस्थागत नमूना तथा सम्बन्धनसम्बन्धी कार्यविधि, २०७९ को बारेमा जानकारी गराएको हो । विश्वविद्यालयका रजिष्ट्रार प्राडा नारायणप्रसाद पौडेलले विज्ञापनमार्फत प्राज्ञहरूको नियुक्ति गरिएको बताए । उनले २५ विज्ञ प्राज्ञको नियुुक्ति विशेष प्रकृतिको करारबमोजिम परियोजनामा आधारित स्रोतबाट तलब सुविधा भुक्तानी हुने भएकाले विश्वविद्यालयको नियमित सञ्चालन खर्चमा अतिरिक्त भार नपर्ने प्रष्ट्याए । उनले भने, “प्राज्ञ नियुक्तिले खर्चमा अतिरिक्त भार पर्दैन बरु उल्टै अनुसन्धान परामर्शलगायत क्रियाकलापबाट अतिरिक्त आयआर्जनमा योगदान हुने प्रष्ट छ । उहाँहरूद्वारा ग्र्याजुएट स्कुलअन्तर्गतका प्राध्यापकज्यूहरूको अनुसन्धान तथा कृति प्रकाशन कार्यमा थप बल पुग्न गई समग्र विद्यार्थीले प्राप्त गर्ने शिक्षा, ज्ञान र सीपको गुणस्तरमा सुधान हुने आशा गर्न सकिन्छ ।” मध्यपश्चिम विश्वविद्यालयले ग्र्याजुएट स्कूल अफ म्यानेज्मेन्ट डीनको कार्यालयअन्तर्गत एमफिलरपिएचडी कार्यक्रम विगत पाँच वर्षदेखि सञ्चालनमा ल्याएको र हालसम्म एमफिलतर्फ ५७ र पिएचडीतर्फ आठ स्कलरले अध्ययन, अनुसन्धान गरिरहेको उनले बताए । विश्वविद्यालयका अन्य छ वटा ग्र्याजुएट स्कूलअन्तर्गत एमफिलरपिएचडी कार्यक्रम हुन नसक्दा यहाँका करिब दुई सयभन्दा बढी प्राध्यापक एमफिलरपिएचडीको अध्ययन अनुसन्धानको अवसरबाट वञ्चित हुने अवस्थालाई मध्यनजर गरी गरिएको विज्ञापनबाट अध्ययन तथा अनुसन्धानका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुग्ने रजिष्ट्रार पौडेलको भनाइ थियो । उहाँका अनुसार विश्वविद्यालयको सम्बन्धनसम्बन्धी व्यवस्थाले देशका विभिन्न भूभाग र विशेषगरी कर्णाली प्रदेशमा विभिन्न विषयमा अध्ययन गराउन इच्छुक सामुदायिक, निजी तथा सहकारीमा आधारित सङ्घरसंस्थालाई भिन्नभिन्न विषयका कार्यक्रम सञ्चालन गरी देशभरिका विद्यार्थीको उच्च शिक्षा अध्ययन गर्ने अवस्था सिर्जना हुने र त्यसले राष्ट्रको योगदान पु¥याउने उद्देश्य राख्दछ । विश्वविद्यालयको शैक्षिक कार्यक्रम सञ्चालनले विद्यार्थी सङ्ख्या बढ्ने र त्यसले यसको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापनमा स्तरवृद्धि हुने जनाइएको छ ।
हिमाल सफाइ अभियान टोली आधार शिविरमा काठमाडौं । नेपाली सेनाका प्रमुख सेनानी किशोर अधिकारीको नेतृत्वको १३ जनाको टोली आज सगरमाथा आधार शिविर पुगेको छ । सगरमाथा, ल्होत्से, वरुञ्चे र अन्नपूर्ण हिमाल सफाइ कार्य गर्न खटिएका नेपाली सेनाको जनशक्तिमध्ये सगरमाथा र ल्होत्से हिमालका लागि खटिएको टोली आधार शिविर पुगेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सेनाले जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उद्देश्य अनुरुप सरकारको राष्ट्रिय कार्यक्रमअन्तर्गत सेनाको अगुवाइमा यही चैत १४ गते त्यसतर्फ प्रस्थान गरेको थियो । अन्नपूर्ण हिमाल सफाइमा संलग्न टोलीले भने चैत १७ गते नै अन्नपूर्ण आधार शिविर पुगी फोहर सङ्कलन सुरु गरिसकेको छ । बरुञ्चे हिमाल सफाइ टोली उक्त हिमालको आधार शिविर पुग्ने क्रममा छ । ती टोली हिमाल सफाइ कार्यलाई थप प्रभावकारी बनाउन आफूलाई हिमाली वातावरण अनुकूल तुल्याउन विभिन्न क्रियाकलापमा जुटेका छन् । सगरमाथा, ल्होत्से, अन्नपूर्ण र बरुञ्चे हिमालबाट यस वर्ष करिब ३५ टन फोहर सङ्कलन गर्ने लक्ष्य छ । अभियानले विश्वव्यापी चुनौतीका रूपमा रहेको वातावरणीय प्रदूषण तथा विश्व तापमानको असरलाई न्यून गर्न सचेतना अभिवृद्धि हुने विश्वास लिइएको छ ।
भक्तपुरको प्रसिद्ध बिस्का जात्रा: हात नभएको लिङ्गो ठड्याइयो (भिडियो) भक्तपुर । भक्तपुरको प्रसिद्ध बिस्काः जात्रा अन्तर्गत बिहीबार तालाक्वस्थित कुम्हाले टोलमा ल्हा मरुम्ह योसिँद्योः अर्थात हात नभएको लिङ्गो ठड्याइएको छ । पुरानो वर्षको बिदाइ र नयाँ वर्षको आगमनको अघिल्लो दिन उठाउन उक्त योसिँद्योःकोे टुप्पोमा प्रसादका रूपमा हरियो घाँस र फूल राखिएको हुन्छ । प्रत्येक वर्ष चैत मसान्तका दिन योसिँद्योः ठड्याउने र वैशाख ५ गतेका दिन सो ढालेपछि नौ दिन आठ रात लामो बिस्का जात्रा सम्पन्न हुने परम्परा छ । त्यसैगरी यसिँख्यमा ५५ हात लामो योसिँद्योः ठड्याएर जात्रा मनाइन्छ । उक्त योसिँद्योःलाई भने वैशाख १ गते साँझ तान्त्रिक विधिपूर्वक पूजा गरी ढाल्ने परम्परा छ । भैरवनाथको प्रतीक मानिने योसिँद्योःको शीर्षभाग र हातहरू नीलो कपडाले बेरिएको हुन्छ । योसिँद्योःको कोखामा झुण्ड्याइएका दुई ध्वजालाई वीरध्वजा र विश्वध्वजा भनिन्छ । एकजोडी ध्वजा फुकाएपछि एउटा संवत् फेरिने हुनाले बीचमा फुकाएर हेर्न हुँदैन भन्ने धार्मिक मान्यता छ । योसिँद्योः उभ्याउन बाँधिएका आठ डोरीलाई अष्ट मात्रिकाको प्रतीक मानिन्छ । जात्रा सकिएपछि तलेजुमा दुमाजुको विशेष जात्रा र पूजा गर्ने चलन छ । यो जात्रा अगाडि लिङ्गो भैरवनाथ र भद्रकालीको रथलाई गःहिटीबाट तानेर यसिँख्य पुर्याउनुपर्ने परम्परा छ । योसिँद्योः उभ्याइसकेपछि मध्यरातमा दर्शनका लागि नवदुर्गा देवगण आउने परम्परा छ । लिङ्गो जात्रा हेर्नाले सुख, शान्ति, समृद्घि, सहकाल आउनाका साथै शत्रु नाश हन्छन् भन्ने धार्मिक मान्यता रहेकाले यस जात्रालाई शत्रुहन्ता जात्रा पनि भन्ने गरिएको छ । हेर्नुहोस् भिडियो:
कैलालीबाट जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ कैलाली। टिकापुर नगरपालिका-१ ब्लक नम्बर ५ बस्ने ६८ वर्षीय दिल प्रसाद शेरचनको न्यू ब्रान्च होटलमा जुवातास खेलिरहेको अवस्थामा शेरचन समेत १० जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १४ हजार ९५ रूपैयाँ र ५ बुक ताससहित फेला पारी पक्राउ गरेको हो। साथै, टिकापुर नगरपालिका-१ ब्लक नम्बर १४ बस्ने खडक बहादुर शाहीको घरमा जुवातास खेलिरहेको अवस्थामा शाही समेत ५ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३१ हजार ६ सय ९५ रूपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
पेप्सी : जिउनुहोस् अझ बढी फिंज, अझ बढी स्फूर्तिका साथ काठमाडौँ। सर्वाधिक प्रतिष्ठित चुनौतीपूर्ण ब्राण्ड बन्ने होडमा पेप्सीले MORE FIZZ, MORE REFRESHING भन्ने आफ्नो सिद्धान्तलाई निरन्तरता दिन एक नयाँ टिभिसि सार्वजनिक गरेको छ। जसमा ब्राण्ड सद्भावनादूत प्रदीप खड्कालाई देख्न सकिन्छ। यो नयाँ फिल्मले पनि पेप्सी युवाहरुको आवाज र रोजाई हो भन्नेमा जोड दिएको छ। यस अभियानको मुख्य ध्येय युवाहरुलाई पेप्सी पिउन प्रोत्साहित गर्नु रहेको छ।  जसले ग्राहकहरुलाई अझ बढी फिजका साथ स्फूर्तिदायी अनुभूति दिइरहेको छ। फिल्मको शुरुवात् युवा जोडी डिनर टेबलमा चिसो पेप्सीको साथ देखिन्छ। केटा उठेर जान्छ र वेट्रेससंग अझ बढी फिज भएको चिसो पेय माग्छ। यस्तैमा ऊ नजिक चर्चित नायक प्रदीप खड्का बसिरहेको देख्छ। प्रदीपले एउटा गीलासमा कोला पेय खन्याएर ती युवालाई पिउन दिन्छन्। सो युवाको प्यास नाटकीय रुपमा मेटिन्छ र उसले वेट्रेसलाई आफूलाई पनि भर्खरै पिएको त्यही कोला पेय दिन आग्रह गर्दछ। यो सुनेर, प्रदीपले उसलाई आफूले पेप्सी पिउन दिएको बताउँछन्, यो थाहा पाएर त्यो केटा झनै अचम्ममा पर्छ किनकी उसले पेप्सीमा त्यति धेरै फिज हुन्छ भन्ने सोचेकै थिएन। त्यसपछि त्यो केटाले पेप्सीको बोतल लिन्छ र उसले अझ बढी स्फूर्तिका साथ आनन्द लिइरहेको देखिन्छ। फिल्मको बारेमा बताउँदै पेप्सीको नेपालका एसोशिएट डाइरेक्टर अनुज गोयलले भने,“ पेप्सीको नयाँ अभियानले थप गरिएको फिजलाई अनौठो कथाको माध्यमबाट प्रस्तुत गरेर ब्राण्डको स्थितिलाई अझ मजबुत बनाएको छ। अभियानको उद्देश्य हाम्रा नेपाली उपभोक्ताहरुका लागि गृष्म यामको निर्विकल्प पेय बनाउनु रहेको छ। प्रदीपसंग काम गर्नु हाम्रो लागि सधैं उत्साहजनक रहँदै आएको छ किनकी वहाँ पेप्सीको स्वाएग सिद्धान्तसंग पूर्णरुपमा परिचित हुनुहुन्छ र उहाँको व्यापक अपीलले हामीलाई उपभोक्ताहरुमाझ व्यापकरुपमा पुग्न मद्दत गर्नेछ।” फिल्मको सम्बन्धमा चर्चा गर्दै ब्राण्ड एम्बेसेडर प्रदीप खड्काले भने, “पेप्सीको अभियानसंग फेरि पनि जोडिन पाएकोमा म अत्यन्त रोमाञ्चित भएको छु, किनकी ब्राण्डको सिद्धान्त मेरो अन्तर ह्रृदयको भावना र हर चीजलाई अत्यन्त धीरताका साथ पछ्याउने मेरो आत्मविश्वाससंग मेल खान्छ । यो नयाँ अभियानले यो सिद्धान्तलाई जीवित तुल्याउँदै पेप्सी कसरी गृष्म यामको तापलाई शितलतामा परिणत गराउने निर्विकल्प स्फूर्तिदायक पेय हो भन्ने प्रस्तुत गरेको छ। म मेरा फ्यानहरुसँग यो फिल्म हेरेको सुन्न र यो मौसममा उनीहरुको हात हातमा अझ बढी फिज र स्फूर्तिदायक पेप्सी भएको देख्न आतुर छु।” अझ बढी फिज भएको नयाँ पेप्सी एकल र बहु पेट सर्भ प्याकहरुसहित नेपालका मोडर्न तथा ट्रेडिसनल रिटेलहरुमा र इ कमर्स प्लेटफर्महरुमा पाइन्छ ।
बैतडी जिप दुर्घटना : फरार चालक पक्राउ बैतडी। बैतडीमा भएको जिप दुर्घटनाका चालकलाई प्रहरीले पक्राउ गरेको छ। मङ्गलबार राति खोडपे–बझाङ जोड्ने जयपृथ्वी राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ झौलेक मोडमा से१ज ७६४ नंको जिप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो। दुर्घटनालगत्तै फरार रहेका चालक बझाङको केदारस्युँका २७ वर्षीय अर्जुन बोहरालाई प्रहरीले ढोल्यामोडबाट पक्राउ गरेको प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए। चालक बोहरामाथि सवारी ज्यानसम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको छ। दुर्घटनामा बझाङको केदारस्युँ गाउँपालिका–५ बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४२ वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४० वर्षीय वीरे धामीको मृत्यु भएको थियो। जिपमा सवार अन्य पाँच जनाले हामफालेर ज्यान जोगाएका थिए। दुर्घटनापछि क्षतिपूर्तिको मागसहित घटनास्थलमै मृतकका आफन्तले बुधबार आन्दोलन गरेका थिए। उनीहरूले चालक, साहुलाई नियन्त्रणमा लिन र आवश्यक क्षतिपूर्ति दिन माग गरेका थिए। केदारस्युँ गाउँपालिका क्षतिपूर्ति उपलब्ध गराउन सहमत भएको प्रहरीले जनाएको छ। भारतको पिथौरागढमा मजदुरी गरेर नयाँ वर्ष मनाउन फर्किरहेका उनीहरू दुर्घटनामा परेका थिए।
तनाव व्यवस्थापन गर्न ओशो महोत्सव काठमाडाैं। सीमित स्रोत र साधनका कारण मानिसहरूका लागि अवसर थोरै मात्र उपलब्ध छन्, तर पद, प्रतिष्ठा र अवसर प्राप्त गर्ने महत्वाकांक्षा त्यो भन्दा धेरै छ। यसैकारण समाजमा असन्तुष्टि चुलिँदो छ भन्छन् समाजशास्त्रीहरू। समाजको पछिल्लो पुस्ता आफ्ना इच्छा, आकांक्षा पूरा गर्न नपाउँदा मनोरोग (डिप्रेसन)को अवस्थामा पुग्दैछ। पहिले कोरोना महामारी र त्यसपछि सिर्जित आर्थिक मन्दीका कारण कैयौँ उद्योग, प्रतिष्ठान बन्द हुन पुगेका छन्। यसबाट बेरोजगार हुन पुगेका लाखौँ मानिसको मानसिक स्वास्थ्यमा असर परेको विभिन्न अध्ययनले देखाएका छन्। नेपालमा पनि आर्थिक संकट दिनप्रतिदिन बढ्दो छ, सेयर बजार झन्भन्दा झन् खस्कँदै छ। मानिसका लागि अवसर खुम्चिँदै छन्। स्वदेशमा रोजगारीका अवसर सीमित हुँदा दिनहुँ हजारौँ युवायुवती विदेशिएका छन्। देशका अधिकांश क्षेत्र, पेसा या व्यवसायमा पनि सकारात्मक सञ्चार प्रवाह हुनसकेको छैन। यी विविध कारणले गर्दा मानिसमा निराशामात्र थपिँदै छ। यस्तो निराशा, कुण्ठा, असन्तुष्टि या डिप्रेसनउन्मुख अवस्थाको निदानका लागि ध्यान, साधनालाई उत्तम उपाय मानिएको छ। योग र ध्यान क्षेत्रका साधकहरूले मानिसमा यस्तो नैराश्यता हटाएर मानसिक स्वास्थ्यमा सुधार ल्याउन ध्यान र साधनाले औषधिको काम गर्ने सिफारिस गर्दछन्। नेपाली समाजमा पनि पछिल्लो समय युवा या विभिन्न उमेर समूहका मानिसमा पद, प्रतिष्ठा र सफलता प्राप्तिको आकांक्षा बढ्दो देखिन्छ। तर आफूअनुकूलको वातावरण सिर्जना हुन नसक्दा उनीहरूमा निराशा बढ्दो छ। त्यसैले मानसिक स्वास्थ्यसम्बन्धी चिकित्सक या यस क्षेत्रका जानकारहरू ध्यान, योग, साधना गर्न सुझाउँछन्। मानिसको दिमागबाट डिप्रेसन र नैराश्यता हटाई उसमा आशावादिता जगाउन र सकारात्मक सोचको विकास गरी सुरक्षित र खुसी जीवनयापन गर्न उनीहरू ध्यान गर्न सुझाउने गरेका छन्। यही प्रयोजनका लागि अर्थात् मानिसमा पछिल्लो समय विकसित तनाव तथा नैराश्यताको व्यवस्थापन गर्न नयाँ वर्षको पहिलो दिन भोलि विसं २०८० वैशाख १ गते राजधानीको टुँडिखेलमा ओशो महोत्सवको आयोजना गरिएको छ। शुक्रबार बिहान ९ देखि राति ९ बजेसम्म आयोजित सो महोत्सवमा सबैलाई खुला आमन्त्रण पनि गरिएको छ। सो महोत्सवका प्रमुख संयोजक भवन भट्टले नेपाललाई समृद्ध र अध्यात्मिक बनाउने स्वामी आनन्द अरुणको चाहनाबमोजिम ओशो तपोवनको आयोजनामा गत वैशाख १ देखि हरेक नयाँ वर्षको पहिलो दिन ओशो महोत्सव सुरु गरिएको जानकारी दिए। उनले भने, “अहिले नेपाली समाजमा विविध कारणले विशेषगरी युवा वर्ग या विभिन्न पेसा व्यवसायका मानिसमा व्याप्त तनाव, नैराश्यता एवं प्रतिदिन बढ्दो डिप्रेसनको व्यवस्थापन गरी हरेक मानिसमा अध्यात्मिक चिन्तनको विकास गरेर उनीहरूलाई योग र ध्यानतर्फ आकर्षित गर्न यो महोत्सवको आयोजना गरिएको हो।” यसै वर्षको अर्थात् विसं २०७९ को वैशाख १ गते पनि टुँडिखेलमा नै कम्तीमा १० हजार जना मानिस जम्मा गर्ने उद्देश्य राखेर आयोजना गरिएको महोत्सवमा १२ हजार जनाको सहभागिता रहेको र त्यहाँ आएका कतिपय व्यक्ति पछि ओशो तपोवनमा पनि आइरहेकाले यस वर्ष कम्तीमा पनि ५० हजार जना मानिस जम्मा गर्ने महोत्सवको लक्ष्य रहेको उनले बताए। प्रमुख संयोजक भट्टले नेपाली पात्रोअनुसार हरेक वर्षको वैशाख १ गतेलाई विश्व ध्यान दिवसका रूपमा प्रस्ताव गरिएको र यससम्बन्धी संयुक्त राष्ट्रसंघीय निकायसम्म पनि पहल गरिएकाले सो दिनलाई विश्व ध्यान दिवस घोषणा गराउन यो अभियान निरन्तर लाग्ने जानकारी दिए। उनले भने, “भारतका प्रधानमान्त्री नरेन्द्र मोदीले विश्व योग दिवस भनेर प्रस्ताव गर्नुभयो तर नेपालजस्तो देवभूमि, तपोभूमि, ध्यानभूमिले किन ध्यान दिवसको प्रस्ताव नगर्ने भन्ने हामीले सोच्यौँ र यो प्रस्ताव गरेका हौं। ध्यान अध्यात्मिक चिन्तन पनि भएको र वैशाख १ गते आफैँमा नयाँ वर्षको पहिलो सङ्क्रान्तिको दिन तिथि, मिति आदि हेर्न पनि नपर्ने भएकाले यसै दिनलाई प्रस्ताव गरेका हौं।” यो दिवसको घोषणा गर्न सकियो भने यसले हाम्रो नेपाली मौलिकपन झल्काउने र महादेव अर्थात् देवताहरूले तपस्या गरेको नेपालजस्तो तपोभूमि र शान्तिका अग्रदूत भगवान् गौतम बुद्ध जन्भिएको देश नेपाललाई विश्वमै ध्यान, तपस्या गर्ने अर्थात् ध्यानीहरूको देश भनेर चिनाउन सकिने उनले बताए। शुक्रबार बिहान ९ बजेदेखि १२ घन्टासम्म सञ्चालन हुने यस महोत्सवमा ध्यान, योगका साथै विशिष्ठ राष्ट्रिय कलाकारद्वारा गीत संगीत र नृत्य, वरिष्ठ हास्यव्यङ्ग्य कलाकारहरूको प्रस्तुति एवं नाटक प्रदर्शन पनि आयोजना गरिएको छ। महोत्सवमा योगको संयोजन पतञ्जलिले गर्ने भएको छ। यस महोत्सवमा खाना महोत्सव र पुस्तक प्रदर्शनी पनि आयोजना गरिएको छ। ध्यानले मानिसमा सकारात्मक ऊर्जाको सञ्चार गर्दछ। कुनै एक जना व्यक्तिले ध्यान गर्दा उसबाट कैयौँ टाढासम्म सकारात्मक ऊर्जाको प्रवाह हुने भएकाले भोलि शुक्रबार खुलामञ्चमा ५० हजार जनाले ध्यान गर्दा यसबाट नेपाली समाजमा सकारात्मक सञ्चार प्रवाहका लागि ठूलो योगदान पुग्ने उनले बताए। अहिले नेपालमा पनि डिप्रेसन भएका मानिसको सङ्ख्या बढेको देखिएको र तनाव व्यवस्थापन गरी शान्तिपूर्ण र सुखी जीवनयापनका लागि ओशो तपोवनमा समाजका विभिन्न पेसा र व्यवसायका वरिष्ठ व्यक्तित्वदेखि युवाहरू आउने गरेका उनले सुनाए। गैरआवासी नेपाली संघका पूर्वअध्यक्ष भट्ट केही वर्षदेखि ओशो अभियानमा छन्। यस अभियानका आफ्ना अनुभव सुनाउँदै उनी भन्छन्, “मानसिक स्वास्थ्यको वर्तमान अवस्थाको निदानका लागि ध्यान र योग जत्तिको प्रभावकारी ‘थेरापी’ अरु केही नरहेको विभिन्न प्रयोग एवं अनुसन्धानबाट प्रमाणित नै भइसकेको छ। त्यसैले अब हामीले पनि नेपाली समाजमा अध्यात्मिक चिन्तनको विकास गरी सबै मानिसलाई ध्यान र योगका लागि प्रेरित गर्नुपर्छ र नेपाली समाजबाट नैराश्यता र नकारात्मक सोचलाई विस्थापित गरी सकारात्मक ऊर्जा प्रवाहमा लाग्नुपर्छ।” रासस
मलिकाका वडावडामा अचार उद्योग गलेश्वर। म्याग्दीको मालिका गाउँपालिकाका एकल तथा फरक क्षमता भएका महिला वडा–वडामा अचार उद्योग स्थापना गरेर आयआर्जन गर्ने तयारीमा जुटेका छन्। गाउँपालिकाले सातै वडाका महिलालाई एक साताको अचार बनाउने तालिम दिएपछि उनीहरु अचार उत्पादन गर्न लागिपरेका हुन्। तालिममा सहभागी २५ महिलालाई गाउँपालिकाले प्रतिव्यक्ति रु २६ हजारका दरले अनुदान दिएर अचार उद्योग सञ्चालनका लागि प्रेरित गरेको गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताए। महिलाले वडा–वडामा उत्पादन गरेको अचार गाउँपालिकाले नै बजारीकरण (बिक्री) गरिदिने उनको भनाइ छ। गाउँपालिकाको आर्थिक सहयोग तथा समन्वय र मिलन म्याग्दीको आयोजनामा ‘राष्ट्रपति महिला उत्थान जीविकोपार्जन सुधार कार्यक्रम’अन्तर्गत एकल, फरक क्षमता भएका तथा कोभिड–१९ प्रभावित र हिंसापीडित महिलालाई अचार बनाउने तालिम दिइएको थियो। आत्मनिर्भर बनाउने उद्देश्यले तालिम प्रदान गरिएको गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीदेवी घर्तीमगर पुनले बताइन्। आगामी आर्थिक वर्षका लागि वडास्तरबाटै सीपमूलक तालिम सञ्चालन गर्न आवश्यक योजना बनाएर बजेट विनियोजन गरिने उनको भनाइ छ। गाउँघरमा पाइने टमाटर, मुला, गाजर, गुन्द्रुक, भटमास, बन्दा, काउली, अमला, कागतीलगायतको प्रयोग गरी अचार बनाउन थालिएको छ। यसबाट आम्दानी गर्न सकिने मिलन म्याग्दीकी कार्यकारी निर्देशक दिलमाया विटालुले बताइन्। सहर तथा बजारका होटल र रेष्टुरेन्टमा अन्यत्रबाट अचार खरिद गरी ल्याउनुपर्ने अवस्थाको अन्त्य हुने विश्वास गरिएको विटालु बताउँछिन्।
सगरमाथा हिमाल आरोहणको क्रममा हिम पहिरोमा परेर तीन जना शेर्पाको मृत्यु काठमाडौं। सगरमाथा हिमाल आरोहणको क्रममा हिम पहिरोमा परेर तीन जना शेर्पाको मृत्यु भएको छ। खुम्बु आईसफल भत्किएर हिमालमा पहिरो जाँदा क्याम्प १ भन्दा तल हिउँमा पुरिएर खुम्बु पासाङल्हमु गाउँपालिका ५ का तीन जना शेर्पा आरोहीको मृत्यु भएको सगरमाथा प्रदुषण नियन्त्रण समितिका अध्यक्ष लामाकाजी शेर्पाले जानकारी दिए। सर्वोच्च शिखर सगरमाथाको ५ हजार ७ सय मिटरको उचाईमा भएको उक्त घटनामा परि मृत्यु हुनेहरुमा तेन्जिङ शेर्पा, लाक्पा रिता शेर्पा र बादुरे शेर्पा रहेका छन् । ईमाजिन ट्रेक प्रा.लि.बाट सगरमाथा आरोहणको क्रममा गाईडको रुपमा हिँडेका शेर्पाहरुको बुधबार मृत्यु भएको हो। विहान एक्कासी आएको पहिरोका कारण मृतकको शव खोचमा पुरिएको छ। मृतकको उद्धारका लागि एसपिसिसिको टोली गएपनि शवहरु खोंचमा भएका कारण उद्धार प्रयास असफल भएको एसपसिसिले जनाएको छ।
जथाभावी फोहर फाल्नेलाई कारबाही गर्न कामपाले थाल्यो रात्रिकालीन अनुगमन काठमाडौं । सार्वजनिक स्थानमा फोहर फाल्ने बढेपछि काठमाडौं महानगरपालिकाले निगरानी बढाएको छ । यसरी सार्वजनिक स्थानमा रातको समयमा फोहर फाल्ने बढेपछि हरेक दिन रात्रिकालीन अनुगमन गर्न थालेको बताइएको छ । जथाभावी फोहर फालेको भन्दै कामपाले गत साता जरिवानास्वरूप रु १५ हजार असुलेको छ । बिहीबार राति वडा नं १४ को कुलेश्वर क्षेत्रमा बा४च ३३४ नम्बरको गाडीले बोरामा हालेको फोहोर फाल्दै गर्दा कामपाको रात्रिकालीन अनुगमन टोलीले पक्राउ गरी जरिवाना असुल गरेको हो । जरिवाना असुल गरी उक्त गाडीलाई फोहर जथाभावी नफाल्ने सर्त राखेर रिहा गरेको कामपा वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठले जानकारी दिए । दुई हप्ताअघि पनि कामपाले तोकिएको स्थान भन्दा अन्यत्र फोहर फाल्नेबाट कारबाहीस्वरूप रु १२ हजार जरिवाना असुल गरेको थियो । वातावरण विभागका अनुसार हरेक दिन बिहान फोहरको व्यवस्थापन गर्नका लागि कामपाको फोहर सङ्कलन गर्ने गाडी आउने गर्दछ । कामपाको आग्रहलाई नागरिकले बेवास्ता गरेको भन्दै पछिल्लो समय कामपाले नियमितरूपमा अनुगमन गरी जरिवाना तिराउन थालेको छ । फोहरलाई तोकिएको स्थानमा मात्र व्यवस्थापन गर्नका लागि कामपाले हरेक दिन बिहान माइकिङ गर्ने गरेको छ । “नागरिकले सडकमा यत्रतत्र फोहर फाल्न थालेपछि कामपाले नफाल्नका लागि आग्रह गरी अटेर गर्नेलाई रु पाँच सयदेखि पाँच हजारसम्म जरिवानासमेत तिराउने गरेको छ”, प्रमुख श्रेष्ठले भने । कामपाले पछिल्लो समय सडक पेटी तथा फुटपाथमा निर्माण सामग्री हटाउने काम नियमित गरिरहेको छ । पैदलयात्री हिँड्ने सडकपेटीमा निर्माण सामग्री राखिएको भन्दै कामपाले पछिल्लो समय यस्ता सामग्री सम्बन्धित व्यक्तिलाई हटाउन आग्रह पनि गरिरहेको छ । कामपाको आग्रह अटेरी गरे अनुगमन गरी जरिवाना गर्ने गरेको छ । उपत्यकाको १८ स्थानीय तहको फोहर अन्तिम व्यवस्थापनका लागि हरेक दिन दुई सय गाडी फोहर बोकेर बञ्चरेडाँडामा जाने गर्दछन् । पुतलीसडक क्षेत्रमा इन्टरनेट सेवा प्रदायकले तार काटेर सार्वजनिक आवागमनमा बाधा गरेकाले दुर्घटनाको खतरा बढाएको भन्दै कामपाले अनधिकृत फोहर उत्पादन गरेर सहरी व्यवस्थापनलाई बाधा नगर्न आग्रह गरेको छ ।
अमेरिका तथा कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ काठमाडौं। अमेरिका तथा कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१४ घर भई बूढानीलकण्ठ नगरपालिका कपन बस्ने ४२ वर्षीय पवन राणा रहेका छन्। राणाले सयौँ व्यक्तिलाई वैदेशिक रोजगारीको लागि सहजै अमेरिका तथा दक्षिण कोरिया पठाइदिन सक्छु भन्दै प्रलोभनमा पारी पीडितबाट करोडौँ रकम लिएर सम्पर्कविहीन भएकाले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौँबाट पत्राचार भएपछि प्रहरीले उनलाई बूढानीलकण्ठ कपनबाट पक्राउ गरेको जनाएको छ। पक्राउ परेका राणालाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ।
अमेरिकी डलरसहित तीन पक्राउ काठमाडौं । अवैधरूपमा लुकाइछिपाई बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलर २७ हजार एक सय २९ सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई जना बङ्गलादेशी नागरिक ३७ वर्षीय एमडी मोफिजुल इस्लाम र ४७ वर्षीय देवासहिसकुमार साह र अर्का भारतीय नागरिक ४३ वर्षीय सन्दीपकुमार रहेको प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालय, केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालबाट विमान बङ्गलादेशको उडानद्वारा बङ्गलादेशको ढाकातर्फ जान लागेका बङ्गलादेशी नागरिकलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा दुवै जनाको साथबाट १०÷१० हजार गरी जम्मा २० हजार अमेरेकी डलर प्रहरीले फेला पारी पक्राउ गरेको जनाएको छ । यसैगरी फ्लाई दुबईको उडानद्वारा दुबई हुँदै अमेरिका जान लागेका भारतीय नागरिक सन्दीप कुमारलाई विभिन्न दरको अमेरिकी डलर सात हजार एक सय २९ सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीका लागि राजस्व अनुसन्धान विभाग, हरिहर भवन पुल्चोक, ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ११ जनाविरुद्व साँढे पाँच करोडको भ्रष्टाचार मुद्दा काठमाडौं। भीमदत्त नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुष्करप्रसाद भट्टसहित ११ जनाविरुद्व पाँच करोड ४३ लाख ३१ हजार ८१७ रुपियाँको भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै कन्चनपुरको भिमदत्त नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुष्करप्रसाद भट्ट र लेखाअधिकृत गोविन्दराज उपाध्यायसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको जानकारी दिए। आर्थिक वर्ष २०७८र७९ मा नगरपालिका अन्तर्गत महाकाली नदीबाट नदीजन्य पदार्थ उत्खनन् सम्बन्धी ठेक्कामा भवानी कन्स्ट्रकसन प्रालिलाई प्रत्यक्ष लाभ पाउने गरी राजस्व गरेको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो।
काभ्रेमा धारिलो हतियार प्रहार गरी ९२ वर्षीया वृद्धाको हत्या काठमाडौं । काभ्रेमा धारिलो हतियार प्रहार गरी एक जनाले आफ्नै आमाको हत्या गरेको छन् । प्रहरीले हत्या आरोपमा पनौती नगरपालिका–११ का ५२ वर्षीय विष्णुबन्ध थापालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता डीएसपी ढुण्डीराज न्यौपानेका अनुसार बुधबार बिहान ११ बजे विष्णुबन्धुले आफ्नी ९२ वर्षीया आमा कान्छीमाया थापाको हत्या गरेका हुन् । उनले आक्रोशमा आएर आमाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी न्यौपानेले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
निकुञ्जमा दुई गैँडा मृत भेटिए नवलपुर। चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा दुईवटा गैँडा मृतावस्थामा भेटिएका छन्। निकुञ्जको अमलटारी सेक्टरअन्तर्गत मर्दी घोलस्थित नारायणी नदीको भङ्गालोमा एउटा र निकुञ्जको बगई माडी सेक्टरअन्तर्गत रिउ खोलाको दक्षिण किनारको काँस घारीमा अर्को गैँडा मृत फेला परेको हो। चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले अमलटारी क्षेत्रमा करिब सात महिनाको पोथी गैँडा मृत भेटिएको बताए। त्यसैगरी माडीको रिउ खोलामा किनारमा करिब छ महिनाको भाले गैँडा मृत भएको उनको भनाइ छ। भाले गैँडाको मृत्यु बाघको आक्रमणबाट भएको तिवारीले जानकारी दिए। मृतावस्थामा भेटिएका दुवै गैँडाको खाग नपलाएको तिवारीको भनाइ छ। निकुञ्जमा मृत भेटिएका दुई गैँडासँगै चालु आर्थिक वर्ष २०७९\८० मा हालसम्म १६ वटा गैँडाको मृत्यु भएको तिवारीले जानकारी दिए। यस वर्ष मृत भेटिएका गैँडामध्ये दुई वटा गैँडा चोरी शिकारीका कारण मरेका हुन्।
उपत्यकामा कम हुँदैछ खानेपानी चुहावटको समस्या काठमाडौं। दुई तीन महिना पहिलेसम्म काठमाडौँका अधिकांश स्थानमा खानेपानीको चुहावटको समस्या देखिन्थ्यो। अहिले त्यो समस्या कम भएको छ। मेलम्ची खानेपानी आयोजनाका लागि बिच्छ्याइएको नयाँ पाइप परीक्षणको क्रममा हुँदा पुरानो पाइपबाट पानी वितरण हुँदा चुहावटको समस्या धेरै रहेको थियो। अहिले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले चुहावट देखिएका अधिकांश स्थानमा मर्मत गरिरहेकाले समस्या कम भइरहेको देख्न सकिन्छ। अहिले चुहावटलाई पहिलो प्राथमिकतामा राखेर देखिनासाथ मर्मत भइरहेको लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलनकुमार शाक्यले बताए। उनले भने, “कतै चुहावट भयो भन्ने सूचना आउनासाथ सडक विभागको स्वीकृति लिएर मर्मत भइरहेको छ।” चुहावट मर्मत छिटो, छरितो गरिएकाले चुहावट कम देखिएको लिमिटेडले जनाएको छ। नयाँ पाइपको परीक्षण भइरहेको र असार मसान्तसम्ममा सम्पन्न गर्ने गरी निर्देशनालयले काम गरिरहेको उनले बताए। परीक्षण सम्पन्न भएपछि खानपानी नयाँ पाइप लाइनबाटै वितरण सुरु गरिनेछ। उनले भने, “त्यसपछि चुहावटको मात्रा कम भएर पानी बढी दिन सकिने अपेक्षा छ।” अहिले उपभोक्ताको घरघरमा दुई दिन बिराएर पानी वितरण भइरहेको उनले बताए। निर्देशनालयले पाँच करोड लिटर पानी परीक्षणका लागि प्रयोग गरिरहेकाले उपभोक्ताले कम पानी पाएका हुन्। परीक्षण सकिएपछि १७ करोड लिटर पानी नयाँ प्रणालीमा दिन सकिने उनले बताए। निर्देशनालयले उपत्यकामा पानी वितरणका लागि नयाँ पाइप विच्छ्याउँदा सँगै १० ठाउँमा ट्याङ्की निर्माण गरेको थियो। अहिलेसम्म पुरानो पोखरीबाटै पानी वितरण भइरहेको छ। नयाँ ट्याङ्की परीक्षणको क्रममा रहेको उनले बताए। मेलम्चीको पानी वितरणका क्रममा पाइपमा आएको चुहावटका कारण काठमाडौँ उपत्यकाका धेरै सडकमा क्षति पुगेको थियो। उपत्यकामा पानी वितरण भइरहेका मुख्य सहरी क्षेत्रमा नै चुहावटका कारण सडकमा बढी क्षति पुगेको थियो। खासगरी लैनचौर–महाराजगञ्ज, महाराजगञ्ज–बालाजु, त्रिपुरेश्वर–कलङ्की, ताहाचल–छाउनी, नयाँ सडक, कालीमाटी–कलङ्की सडकका विभिन्न खण्ड, लगनखेल, कुपण्डोल, कुमारीपाटी, बल्खु, कालीमाटीलगायतका स्थानमा खाल्डाखुल्डी देखिएको थियो।
फेवा किनारमा नववर्ष महोत्सव सुरु गण्डकी । नयाँ वर्ष २०८० को छेकोमा पोखराको फेवा किनारमा ‘१८औँ फेवा नववर्ष महोत्सव’ सुरु भएको छ । होटल सङ्घ पोखराद्वारा आयोजित महोत्सवको बुधबार पोखरा महानगरका प्रमुख धनराज आचार्यले उद्घाटन गरे । कोभिड–१९ महामारी, आर्थिक सङ्कटजस्ता कारणबाट शिथिल बनेको पर्यटन व्यवसायलाई उकास्ने उद्देश्यले महोत्सव आयोजना गरिएको होटल सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले बताए । “पर्यटक भित्र्याउन, संस्कृति देखाउन र स्थानीय खानाको स्वाद चखाउन महोत्सव आयोजना गरिएको हो”, उनले भने, “पोखराको पर्यटन प्रवद्र्धनमा नववर्ष महोत्सवले महत्वपूर्ण टेवा पु¥याउँदै आएको छ ।” महोत्सवको मुख्य ‘थिम’ नै पर्यटन, संस्कृति र खाना रहेको छ । लेकसाइडको फिस्टेल गेटदेखि हल्लनचोकसम्मको सडकमा वैशाख १ गतेसम्म महोत्सव चल्नेछ । महोत्सवको अवसरमा पोखराका व्यवसायीले होटलमा २० प्रतिशत छुटको व्यवस्था गरेका छन् । महोत्सवले पर्यटकीय गतिविधि बढ्ने विश्वास आयोजकले लिएको छ । पछिल्लो समय पर्यटक आगमन घटेपछि व्यवसायी चिन्तित छन् । महोत्सव अवधिभभर विभिन्न सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत हुनेछ ।
टीभीएस एनटर्क १२५ रेस एडिसन अब नयाँ मरिन ब्लु रंगमा काठमाडौं। विश्वमा दुई पाङ्ग्रे र तीन पाङ्ग्रे सवारी साधनको प्रतिष्ठित निर्माता टिभिएस मोटर्सले आफ्नो लोकप्रिय स्कुटर टीभीएस एनटर्क १२५ रेस एडिसनलाई नयाँ मरिन ब्लु रंगमा सार्वजनिक गरेको छ। पहिले रेस एडिसन रेड र रेस एडिसन एल्लो गरी दुई पेन्ट स्किम रहेकोमा अब यो तेस्रो पेन्ट स्किम भएको छ। युनिराइड अटो प्रालि महालक्ष्मी स्थान र रेश अटो प्रालि कुमारिपाटि ललितपुरमा उपलब्ध छ यस अटो प्रालिका प्रोपाइटर निर्मल सिक्देलले बताए। सो स्कुटरको लन्च नाटा अध्यक्ष ध्रुब थापाले गरेका थिए। टीभीएस एनटर्क १२५ रेस एडिसनको नयाँ स्ट्राइकिङ मरीन ब्लु कलरमा समावेश चेकर्ड फ्ल्याग रेस–प्रेरित ग्राफिक्सले छुट्टै स्टाइल स्टेटमेन्ट बनाउने र कालो, मेटालिक ब्ल्याक र मेटालिक नीलोको अद्वितीय तीन टोन संयोजनल राइडरलाई बाँकी भन्दा फरक भएको महसुस गराउने कम्पनीले जनाएको छ। स्टिल्थ एयरक्राफ्टको डिजाइनबाट प्रेरित टीभीएस एनटर्क १२५ रेस एडिसनले सिग्नेचर एलईडी टेल र हेडल्याम्पसहितको तीखो, आक्रामक शैलीलाई मूर्त रूप दिने ।स्कूटरमा रहेको अद्वितीय ‘रेस एडिसन’ प्रतीकले टीभीएस रेसिङ पेडिग्रीलाई थप जोड दिने कम्पनीको दाबी छ। स्पोर्टी स्टब मफलर, टेक्सचर्ड फ्लोरबोर्ड र डायमण्ड कट एलोय ह्वीलले स्कूटरको स्टाइललाई अझ बढाउँछ। कनेक्टिभिटी प्ल्याट्फम मार्फत संचालित यस स्कुटरलाई टीभीएस कनेक्ट मोबाइल एप मार्फत सजिलै कनेक्ट गर्न सकिन्छ। ६० भन्दा बढी सुविधाहरूका साथ पूर्ण रूपमा डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर प्रदान गर्दछ। को सुविधा अझ बढाउँछ । यसका अतिरिक्त, टिभिएस एनटर्क १२५ रेस एडिसनमा बाह्य इन्धन भर्ने सुविधा, ग्क्द्य चार्जर, ठूलो २०–लिटर अन्डरसेट स्टोरेज र त्ख्क् प्याटेन्टेड भ्श् सेन्टर स्ट्यान्ड रहेको छ । मरीन ब्लू कलरमा उपलब्द नयाँ टीभीएस एनटर्क १२५ रेस एडिसनको नेपाली बजारमा मूल्य रु. २,९९,९०० रहेको छ। यो नेपालभर कम्पनीको आधिकारिक डिलरशिपहरूमा उपलब्ध छ।
कोरोना संक्रमित एक जनाको मृत्यु, १२१ संक्रमित थपिए काठमाडौं। कोरोना भाइरस सङ्क्रमित एकको आज मृत्यु भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज दुई हजार ३ सय ७७ जनामा गरिएको परीक्षणमा १२१ जनामा सङ्क्रमण देखिएको छ। यस्तै, आज ८१ जना उपचारपछि घर फर्किएका छन्। मन्त्रालयले अझै केही दिनसम्म सङ्क्रमण बढ्ने देखिएको जनाएको छ। हाल सक्रिय सङ्क्रमितको सङ्ख्या चार सय ४५ पुगेको छ। काठमाडौँ उपत्यकामा २५ जना आइसोलेसन, ११ जना सघन उपचार कक्ष (आइसियु)मा र ३ जना भेन्टिलेटरमा उपचाररत छन्। नेपालमा छिमेकी देशमा भारतमा फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सवीवी१.१६ देखा परेको छ।
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने गिरोहका मुख्य याेजनाकार पक्राउ काठमाडाैं। प्रहरीले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहका मुख्य योजनाकार सन्देश शर्मालाई पक्राउ गरेकाे छ। दाङ घर भएका एमाले निकट विद्यार्थी नेता शर्मालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। नेपालीलाई भुटानी शरणार्थी बनाएर पठाउने घटनामा सन्देश शर्माको पनि प्रमुख भूमिका रहेको अनुसन्धानमा संलग्न प्रहरीले बताएको छ।
सिन्धुलीमा कार दुर्घटनामा मृतक भारतीय नागरिकको पहिचान सिन्धुली। सिन्धुलीमा गएराति भएको भारतीय कार दुर्घटनामा मृतक चारै जनाको परिचय खुलेको छ। मृत्यु हुनेमा भगवती स्थान ९, मन्दिपुरसारी मस्तिपुर वारिसनगर भारत बिहारका नागरिक रहेका छन्। कारमा सवार पाँचमध्ये एकजना घाइते भएका छन्। दुर्घटनामा घाइते ४७ वर्षीय धर्मेन्द्रकुमार सोनीलाई घटनास्थलबाट उद्धार गरी उपचारका लागि सिन्धुली अस्पतालमा ल्याइएको र प्राथमिक उपचारपछि थप उपचारका लागि धुलिखेल पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए। दुर्घटनामा घाइते भएका ३२ वर्षीय अभिषेक ठाकुरको सिन्धुली अस्पतालमा मृत्यु भएको छ। राति १२ः३० बजेको समयमा भएको दुर्घटनामा घाइते दुई जनालाई उद्धार गरी आज बिहान उपचारका लागि सिन्धुली अस्पतालमा ल्याइएकोमा ठाकुरको सोही अस्पतालमा मृत्यु भएको उनले जानकारी दिए। उक्त दुर्घटनामा अरु तीन जनाको घटनास्थलमा नै मृत्यु भएको प्रहरी उपरीक्षक सिलवालको भनाइ थियो। मृत्यु हुनेमा ४२ वर्षीय राकेशकुमार सिं, ३६ वर्षीय मनु सिं र ३२ गवर सिं रहेका छन्। सिन्धुली हुँदै काठमाडौँतर्फ जाँदै गरेको विआर ०६ डिडि ०६८७ नंम्बरको भारतीय कार अनियन्त्रित भएर बिपी राजमार्गअन्तर्गत कमलामाई नगरपालिका– ३ सिन्धुलीगढी नजिकै दुर्घटना भएको थियो। कार सडकबाट ५०० फिट तल खसेको थियो। अहिले शव घटनास्थलबाट सडकमा निकालेर शवबहानबाट सिन्धुली अस्पताल ल्याउने तयारी भइरहेको उनले जानकारी दिए। नेपाल प्रहरी सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले शव घटनास्थलबाट निकालेको थियो। दुर्घटना भीरमा भएका कारण उद्धार टोलीले कठिन तरिकाले शव निकालेको प्रहरी उपरीक्षक सिलवालले बताए। भीरमा भएको दुर्घटनामा उद्धार गर्न गएका केही प्रहरीसमेत भीरबाट खसेको ढुङ्गाले लाग्दा सामान्य घाइते भएका थिए। कारमा सवार व्यक्ति धार्मिक यात्राका लागि नेपाल आएको बताइएको छ।
कोरोना सङ्क्रमित बढेपछि तयारी अवस्थामा रहन अस्पताललाई निर्देशन काठमाडाैं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमणले बढदै गएपछि विभिन्न अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ। दैनिकरुपमा कोरोना भाइरसको सङ्क्रमितको सङ्ख्या बढदै गएपछि सबै अस्पताललाई तयारी अवस्थामा रहन मन्त्रालयले निर्देशन दिएको हो। भारतमा कोरोना भाइरसको देखिएको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि १.१६ पछिल्लो समय नेपालमा पनि देखिन थालेको छ। मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले अहिले देखा परेको भेरियन्ट सङ्क्रामक रहेकाले अस्पताललाई तयारी अवस्थामा राख्न निर्देशन दिएको जानकारी दिए। “कोरोना भाइरसको नयाँ भेरियन्टले धेरै जनालाई सङ्क्रमण सार्ने गर्ने सम्भावना छ”, उनले भने, “सङ्क्रमणको रोकथाम र नियन्त्रण गर्नका लागि सबै अस्पताललाई तयारी अवस्थामा बस्न निर्देशन दिइसकेका छौं।” मन्त्रालयका अनुसार हाल वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, निजामती कर्मचारी अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल, नेपाल प्रहरी अस्पताल लगायतका अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ। कोरोना सङ्क्रमणका कारण बुधबार एक जनाको निधन भएको छ। वीर अस्पतालका निर्देशक डा सन्तोष पौडेलले कोभिड-१९ केन्द्रीय युनिफाइड अस्पताललाई तयारी अवस्थामा राखिएको बताए। उनले चिकित्सक, सघन उपचार कक्ष (आइसियु), भेन्टिलेटर र अक्सिजनलाई तयारी अवस्थामा राखिएको उनको भनाइ छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्ट्यान्ट फिजिसियन डा विमल चालिसेले कोरोना भाइरसको सङ्क्रमणको सम्भावित जोखिमबारे सचेत रहँदै आफूृहरु तयारी अवस्थामा रहेको जानकारी दिए। “अहिले ने आत्तिनुपर्ने अवस्था छैन तर सजग भने हुनुपर्छ”, उनले भने, “सङ्क्रमणको सम्भावित जोखिम नहोस् भनेर तयारी अवस्थामा रहेका छौँ ।” अस्पतालमा एक जना भेन्टिलेटर र दुई जना कोरोना सङ्क्रमित सघन उपचार कक्ष (आइसियु)मा उपचाररत रहेको उनले जानकारी दिए। बुधबार मात्रै देशभर एक सय छ जना नयाँ सङ्क्रमित देखा परेका थिए। हाल काठमाडौँ उपत्यकामा २४ जना आइसोलेसन, १३ जना सघन उपचार कक्ष (आइसियु)मा र ५ जना भेन्टिलेटरमा उपचाररत छन्। महाशाखाले नेपाल प्रवेश हुने सीमा नाकामा कडाइ गरिएको जनाएको छ । सीमा नाकाबाट नेपाल प्रवेश गर्नेहरुको कोरोना परीक्षण सुरु गरिएको छ।
जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ काठमाडौँ। विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा १३ जनालाई प्रहरी ले पक्राउ गरेको छ। नवलपरासी (पूर्व), गैंडाकोट नगरपालिका(४ स्थित अमृता खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१ बस्ने २४ वर्षीय बिष्णु सापकोटा समेत ५ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गैंडाकोटबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५३ हजार ३ सय रूपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो। तनहुँ, ब्यास नगरपालिका(४ सिमलटार बस्ने ४१ वर्षीय हमान सिंह थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा थापा सहित ८ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८८ हजार ५ सय २६ रूपैयाँ र ४ बुक ताससहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
अवैध रुपमा विदेश लैजान लागेको अमेरिकी डलरसहित तीन जना पक्राउ काठमाडौँ। अवैध रुपमा लुकाई छिपाई बाह्‍य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलर २७ हजार १ सय २९ सहित २ जना बंगलादेशी नागरिक र १ जना भारीय नागरिक गरी ३ जना पक्राउ परेको छ। पक्राउ पर्नेहरूमा बंगलादेशी नागरिकहरू ३७ वर्षीय एमडि मोफिजुल ईस्लाम र ४७ वर्षीय देबासहिस कुमार साह तथा भारतीय नागरिक ४३ वर्षीय सन्दिप कुमार रहेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालबाट विमान बंगलादेशको उडानद्वारा बंगलादेशको ढाकातर्फ जान लागेका बंगलादेशी नागरिकहरूलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्‍याण्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा दुवै जनाको साथबाट १०/१० हजार गरी जम्मा २० हजार अमेरेकी डलर प्रहरीले फेला पारी पक्राउ गरेको हो। साथै फ्लाई दुबईको उडानद्वारा दुबई हुँदै युएसए जान लागेका भारतीय नागरिक सन्दिप कुमारलाई विभिन्न दरको अमेरिकी डलर ७ हजार १ सय २९ सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कानूनी कारवाहीको लागि राजश्‍व अनुसन्धान विभाग, हरिहर भवन पुल्चोक, ललितपुर पठाइएको छ ।
जलवायु परिवर्तन सम्बन्धी सचेतनासहित नबिल क्यालेन्डर २०८० सार्वजनिक काठमाडौँ।  ‘जलवायु परिवर्तन सम्बन्धी सचेतना तथा पर्यावरण प्रवर्धनप्रति दायित्वबोध’ मुख्य नाराका साथ नबिल बैंकले नयाँ वर्ष २०८० सालको नयाँ क्यालेन्डर सार्वजनिक गरेको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाका साथ वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य लगायत नायब प्रमुख कार्यकारी अधिकृत द्वय विनय कुमार रेग्मी तथा भूपेन्द्र पाण्डेले भित्ते पात्रो र टेबल क्यालेन्डर सार्वजनिक गरेका हुन्। नबिल क्यालेन्डरमा नेपाली बाह्र महिनाको मौसम तथा प्राकृतिक सौन्दर्यलाई दर्साउने फोटोहरू राखिएको छ भने संवर्धनको लागि आह्वान गरिएको छ। ढकमक्क फुलेका लालीगुराँसका मनोरम दृश्य, स्वतन्त्र उड्ने चराचुरुङ्गीहरूदेखि सुन्दर हिमालहरू, लोपोन्मुख हिम चितुवाका फोटोहरू प्रयोग गरिएको छ। बैंकले अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) सँग तस्बिरहरूको लागि सहकार्य गरेको थियो। क्यालेन्डरमा जलवायु परिवर्तन सम्बन्धी सचेतना राखिनुको विषयमा प्रकाश पार्दै नबिल बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालले भने, ‘जलवायु परिवर्तनलाई बैंकिङ लगायत सबै क्षेत्रबाट गम्भीरता पूर्वक ध्यान पुर्याउन जरुरी छ।’ उनले थपे, ‘जलवायु क्षेत्रमा उपयुक्त लगानी गरी यस संसारलाई सबैको लागि बाच्न योग्य बनाउनु नै अहिलेको प्रमुख आवश्यकता हो।’ नबिल बैंकको यस कदमले सम्पूर्ण बैंकका कर्मचारी, सरोकारवाला, ग्राहक वर्ग, सञ्चालक समिति लगायत सम्पूर्ण जनतामा जलवायु परिवर्तन सम्बन्धी सचेतना फैलाउन र जीवनशैलीमा स–साना परिवर्तन गर्न अभिप्रेरित गर्ने सिइओ ढुंगानाको भनाइ छ। नबिलले दिगो बैंकिङको अवधारणालाई आत्मासाथ गरी आएको र वातावरण प्रति सदैव जिम्मेवार रहेको उनले बताए। नयाँ वर्षको सुरुवातसँगै भित्तेपात्रो देशै भरका आफ्ना शाखाहरूबाट कर्मचारी, ग्राहक, सरोकारवाला सबैमा पुर्याउने योजना बैंकको छ। बैंकले केही तस्बिरहरूको सौजन्यका लागि अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) प्रति बैंक आभारी रहेको सिइओ ढुंगानाले बताए। नबिलले हालसालै हरित गृह ग्यास विसर्जन सम्बन्धी रिपोर्ट पनि सार्वजनिक गरेको थियो।
अवैधरूपमा गरिँदै आएको अफिम खेती नष्ट रोल्पा। रोल्पामा प्रहरीले जिल्लाका विभिन्न स्थानमा अवैधरूपमा गरिँदै आएको अफिम खेती नष्ट गरेको छ। जिल्ला प्रहरी कार्यालयबाट खटिएका टोलीले परिवर्तन गाउँपालिका–४ र ५ का विभिन्न ठाउँमा करिब २८ रोपनीमा लगाएको २५ हजार पाँच सय अफिमका बोट नष्ट गरेको हो। अफिम खेती नष्ट गर्न प्रहरी नायब उपरीक्षक श्याम सारुमगर नेतृत्वको ३८ जनाको टोली खटिएको थियो। सारुमगर नेतृत्वको टोलीले परिवर्तन–४ खोलागाउँ, तारल र वसुन्धरामा करिब २० रोपनीमा पाखोबारीमा लगाएको अफिम खेती नष्ट गरेको हो । यहाँ करिब १८ हजार अफिमका बोट नष्ट गरिएका छन्। त्यसैगरी प्रहरीको अर्को टोलीले परिवर्तन–४ जैरेनी र तातापानी तथा परिवर्तन–५ बजेनीमा करिब आठ रोपनीमा लगाएको सात हजार पाँच सय अफिमका बोट नष्ट गरेको छ। उत्तरी र पूर्वी रोल्पामा गरिँदै आएको अवैध अफिम खेती हरेक वर्ष प्रहरीले नष्ट गर्ने गर्दछ।
बर्खा नलाग्दै पहिराको चिन्ता बलेवा। आठ महिना पहिले गाउँमाथिबाट आएको पहिराले चर्किएका घरहरूमा लिपपोतसमेत गरिएको छैन। पहिराको त्रासले पीडित परिवारमा चर्केका घरमा बस्ने मनस्थिति नै छैन। छाडेर जाउँ अन्यत्र कतै ठाउँ छैन। घर वरपरको जमिन चर्केको छ, घर छेउको बारीमा चिरा परेको छ। हिउँदका महिना पहिरो बढ्ला कि भन्ने त्रास भएन। बागलुङ नगरपालिका–११ रायडाँडाको तल्लो रामतोला बस्तीमा पहिराले फेरो हालेका घरमै बसेका सर्वसाधारणलाई बर्खा लाग्ने बेलामा भने विस्तारै चिन्ताले पिरोल्न थालेको छ। गत भदौ २१ गतेबाट सुरु भएको पहिरो असोजको अन्तिमसम्म रोकिएन। दशैँका बेला एक साता निरन्तर वर्षा हुँदा पहिरो निरन्तर बगिरह्यो। गाउँले घर छाडेर छिमेकमा बसे। हिउँद लागेपछि आफ्नै घर फर्किएका गाउँले आउँदो बर्खायाममा फेरि घर छाड्नुपर्ला कि भन्ने चिन्तामा छन्। “हिउँदमा त दिन काटियो तर बर्खामा घर बस्न सकिँदैन”, स्थानीय कुलराज शर्माले भने, “अन्त जाने ठाउँ छैन, घरमै बस्ने वातावरण छैन।” पहिराका कारण घर चर्किएका स्थानीय ढालनाथ शर्माले घर छाडेर हिँडे। पोखरामा रहेका छोराले कोठा भाडामा लिएर उनलाई पोखरा लागे। कुलराज शर्मा, नैनकली केसी र वीरबहादुर केसीका घर गोठ चर्केका छन्। “पहिराले घरगोठ नपुरेसम्म सरकारले केही नदिने रहेछ, हामी त दिनरात तड्पेर बसेका छौँ”, शर्मा भन्छन्, “घरगोठ सग्ला छन् तर भरिला भएनन् ।” आउँदो बर्खाको चिन्ता हिउँदबाटै सुरु भएको शर्माको गुनासो छ। अघिल्लो बर्खा सकिनैलाग्दा सुरु भएको भीषण पहिराबाट हिउँदमा भएको वर्षामा समेत माटो बगिरहेको थियो। “पहिराको प्रभाव गाउँका अन्य ११ घरमा पनि परेको छ, पूर्ण प्रभाव परेका सात घर छन्”, वडाध्यक्ष ज्ञानेन्द्र गौतमले भने, “पहिरो नियन्त्रणको प्रयास भइरहेको छ, बस्ती स्थानन्तरण गर्न सकिएन, यो कठिन काम रहेछ।” हिउँदभरि प्रयास गरेर पहिराको अध्ययन गर्ने, भलबाढी तर्काउने र सम्भावनाको खोजी गर्ने काममात्रै गर्न सकिएको गौतमले बताए। बागलुङ नगरपालिकाले पहिरो नजिक जाने भल तर्काएको छ। घरगोठ नजिक भल नजाने गरी निकास दिइएको वडाध्यक्ष गौतम बताउँछन्। “हामीले बस्ती स्थानान्त्रण गर्न पनि खोजेका छौँ, तर जग्गाको अभाव छ, जग्गा मन्त्रिपरिषद्बाटै पारित हुनुपर्ने रहेछ”, गौतमले भने, “वडाभित्र उपयुक्त जग्गा छैन, बाहिर कसले दिन्छ र ?” वडामै रहेको जग्गामा बस्तीमात्रै स्थानान्तरण गरे पनि पीडितहरू घर छाडेर हिँड्ने मानसिकतामा नरहेको गौतमको दाबी छ। खेतीपातीका कारण सर्वसाधारणले आफू बस्दै आएको ठाउँ छाड्न कठिन मान्ने गरेको उनले बताए। डाँडै पहिरो खसेपछि जोखिममा परेको बागलुङ नगरपालिका–११ को रायडाँडास्थित रामतोलामा प्रदेश सरकार र बागलुङ नगरपालिकाले ध्यान त दिएका छन् तर उपयुक्त निकास खोजेर पीडितको व्यवस्थापन हुनसकेको छैन। “जिल्लास्थित बिपद् व्यवस्थापन समितिमार्फत निर्णय गराएर बस्ती स्थानन्तरणका लागि सङ्घीय सरकारको ध्यानाकर्षण गराएका छौँ”, गौतम भन्छन्, “सम्भावित जोखिमलाई ध्यानमा राखेर तत्काल राहत उद्धार र पुनःस्थापनाका लागि हामी तयार नै छौँ।” पहिराले जैमिनी नगरपालिका–१ को वडारका घरमा पनि जोखिम बनाएको छ। गत साता भएको वर्षापछि पहिरोबाट माटो बगेर बृहत् कुश्मीशेरा खानेपानी आयोजनाको मुहान नै बगाएको थियो। वडारका केही घरसमेत पहिराका कारण विस्थापित हुने अवस्थामा छन्। – रासस
सिन्धुलीमा कार दुर्घटना : चार भारतीय नागरिकको मृत्यु सिन्धुली। गए राति बिपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका-३ गढीगेट नजिक कार दुर्घटना हँुदा चार भारतीय नागरिकको मृत्यु भएको छ। सो दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार दुर्घटना गए राति १२ : ३० बजे भारतीय नम्बरप्लेटको बीआर०६ डिडी ०६८७ कार अनियन्त्रित भएर दुर्घटना भएको हो। दुर्घट्नामा गम्भीर घाइते एक पुरुषलाई थप उपचारका लागि काठमाडौँ पठाउने तयारी भइरहेको छ। कारमा पाँच जना सवार थिए। मृतक चारै जना पुरुष रहेका छन्। मृतकमध्ये एक पुरुषको शव सिन्धुली अस्पतालमा र अरु तीन पुरुषको शव घटनास्थलमै रहेको सिलवालले जानकारी दिए। राजमार्गको भिर भएको स्थानमा कार सडकबाट पाँच सय मिटर तल खसेको थियो। भिरमा जान सहज नभएका कारण शव निकाल्न सकिएको छैन। “त्यहाँ पुग्नै एक घण्टाभन्दा बढी समय लाग्छ, शव कसरी निकाल्ने भन्ने समस्या छ”, उनले भने। शव निकाल्न नेपाली सेनासँग सहयोग मागिएको र सेनाको टोली घटनास्थलतर्फ जाँदै गरेको प्रहरी उपरीक्षक सिलवालले बताए। कारमा सवार पाँचै जनाको परिचय खुल्न सकेको छैन।
आजको मौसम : तीनवटा प्रदेशमा मेघ गर्जनसहित वर्षाको सम्भावना काठमाडौं। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार तीनवटा प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जनाएको छ। विभागका अनुसार कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ। देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ। साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ। बुधबार राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ।
नयाँवर्षको शुभारम्भमा ‘ठमेल सडक महोत्सव’ हुने काठमाडौं। नेपाली नयाँ वर्ष २०८० को शुभारम्भमा राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा ‘ठमेल सडक महोत्सव’ हुने भएको छ । ठमेल पर्यटन विकास परिषद्को आयोजनामा नेपाली नयाँ वर्षलाई अन्तर्राष्ट्रियस्तरमा पहिचान गराउने उद्देश्यले ‘ठमेल सडक महोत्सव’ हुन लागेको हो । परिषद्ले आज पत्रकार सम्मेलन गरी नयाँ वर्षको पूर्वसन्ध्यामा चैत ३० गते साँझ ठमेलमा सडक महोत्सव आयोजना गर्न लागेको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा परिषद्का अध्यक्ष भविश्वर शर्माले नेपाली नयाँ वर्षलाई अन्तर्राष्ट्रियस्तरमा पहिचान गराउनका लागि महोत्सव आयोजना गर्न लागेको जानकारी दिए । “नयाँ वर्षको पूर्वसन्ध्यामा ठमेलभित्रको सडकमा विभिन्न स्टल राखेर खाना र वस्तुको प्रदर्शनी गर्नुका साथै तथा सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत हुनेछन्”, अध्यक्ष शर्माले भने । साँझ ७ बजेदेखि सुरु हुने कार्यक्रम नयाँ वर्षलाई स्वागत गरेर राति १२ः३० बजे समापन हुने परिषद्ले जनाएको छ । अध्यक्ष शर्माले पछिल्लो समय नेपालमा विदेशी पर्यटकको सङ्ख्या बढेको जानकारी दिँदै यसले ठमेलका व्यवसायीमा नयाँ आशा जगाएको बताए । परिषद्का महासचिव राजीव पाण्डेले ठमेललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आकर्षक गन्तव्यका रूपमा परिचित गराउने नेपाली नयाँ वर्षको पूर्वसन्ध्यामा महोत्सव आयोजना गर्न लागिएको जानकारी दिए । महोत्सवले विदेशमा ठमेलको बारेमा सकारात्मक सन्देश जाने उनको भनाइ थियो । उक्त सडक महोत्सवमा एक लाख आन्तरिक तथा बाह्य पर्यटकको सहभागिता रहने परिषद्ले अपेक्षा राखेको छ ।