content
stringlengths
20
64.1k
पृथ्वीराजमार्ग चार घण्टापछि पुन: सञ्चालनमा दमौली। पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पा आँधीखोलामा ट्रकको ठक्करबाट स्थानीय घाइते भएपछि अवरुद्ध भएको सडक चार घण्टापछि पुन: सञ्चालनमा आएको छ । आज बिहान १० बजेदेखि अवरुद्ध रहेको याम्पा–आँबुखैरेनी सडकखण्ड दिउँसोबाट सञ्चालन भएको हो। सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेको संयोजनमा बसेको घाइतेका आफन्त, प्रहरी र जनप्रतिनिधिको बैठकले घाइतेलाई उचित क्षतिपूर्ति र दोषीलाई कारबाही गर्ने सहमतिपश्चात् राजमार्ग सञ्चालन भएको हो। डुम्रेबाट मुग्लिनतर्फ जाँदै गरेको ना४ख १९७३ नंको ट्रक अनियन्त्रित भई सडकको छेउमा रहेको सुनमाया भुजेल र सनबहादुर भुजेलको घरमा ठोक्किँदा स्थानीय घाइते भएका थिए।
व्यवसायी कँडेल मृत्यु प्रकरण : दुई जनाविरुद्ध उजुरी चितवन। पोल्ट्रि व्यवसायी शंकर कँडेल मृत्यु प्रकरणमा दुई जनाविरुद्ध किटानी जाहेरी परेको छ। कँडेल मङ्गलबार साँझ आफ्नै कार्यालय नारायणगढमा मृतावस्थामा भेटिएका थिए। परिवारका तर्फबाट राति आत्महत्याको कारण कम्पनीको ८५ प्रतिशत शेयर खरिद गरेका व्यवसायी प्रदीप रुंटा र कँडेलकै कम्पनीमा कार्यरत चार्टर एकाउन्टेन्ट जीवन रावलविरुद्ध उजुरी परेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीले राति समाजिक सञ्जाल ह्वाटसबमार्फत उजुरी आएको बताए। कँडेल नेपाली कांग्रेस चितवनका महासमिति सदस्य थिए। कांग्रेस चितवनका सभापति राजेश्वर खनालले परिवारका तर्फबाट किटानी जाहेरी प्रहरी प्रमुख कार्कीको ह्वाटसबमा पठाएका हुन्। कँडेलले आत्महत्या अघि लेखेको नोट अध्ययन गरेर अर्को उजुरी दिएको सभापति खनालले जानकारी दिए। केही महिनाअघि कँडेलले आफ्नो नेतृत्वको अनमोल फिड्स प्रालिको शेयर व्यवसायी रुंटालाई बेचेका थिए। शेयर बिक्रीपछि आन्तरिक हिसाब मिलानका क्रममा रुङ्टा र रावलले मानसिक दबाब दिएको उनको सुसाइट नोटमा उल्लेख भएको प्रहरीले जनाएको छ। उजुरीपछि दुबै जनाको खोजी भइरहेको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिए। घटनाको थप अनुसन्धान साँझबाटनै सुरु गरिएको उनको भनाइ छ। कँडेल जिल्लाका लोकप्रिय थिए। भरतपुर महानगरपालिकाको प्रमुखको उम्मेदवारमा दाबी गर्दै आएका उनी गठबन्धन बनेसँगैपछि तत्कालीन समयमा पछिहटेका थिए। उनी भरतपुर महानगरपालिका–८ निवासी रहेका थिए। – रासस
दार्चुला हिम पहिरो अपडेट : दुई महिलासहित तीन जनाको शव भेटियो महेन्द्रनगर। दार्चुलाको व्यास गाउँपालिका–१ मा आज हिमपहिरोमा परी सम्पर्कबिहीन रहेका पाँच जनामध्ये दुई महिला र एक पुरुषको शव फेला पारेको छ। मंगलबारदेखि हिमपहिरोमा परी सम्पर्कबिहीन रहेका यार्सा संकलकमध्ये सात जनाको सशस्त्र प्रहरीले उद्धार गरेको थियो भने पाँचजना सम्पर्कबिहीन थिए। दार्चुलाको छाङरुमा रहेको सशस्त्र प्रहरी बल ५० नम्बर गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक ईश्वरीदत्त भट्टले केहीबेर अघि बेपत्ता भएको ठाउँबाट करिब अढाइ किलोमिटर तल हिउँभन्दा बाहिर मृतावस्थामा तीन शव भेटिएको जानकारी दिए। “शव भेटिएपछि स्थानीय, नेपाल प्रहरी र हाम्रो टोली घटनास्थल पुगिसकेको छ।” उनले भने,“शव भेटिए पनि पहिचान भने खुलिसकेको छैन्।” मंगलबार दिउँसोबाट सशस्त्रको टोली उद्धार तथा खोजीमा खटिएको भए पनि लगातारको हिमपात र वर्षाका कारण कठिनाइ भइरहेको थियो। “हिजो पनि राति ९.३० बजेसम्म खोजीमा जुट्यौँ ।” उनले भने,“ आज पनि बिहानबाट टोली खटिएको छ।” उनका अनुसार सो क्षेत्रमा यार्सा संकलकहरु त्रिपालमा बसिरहेका थिए। – रासस
१६ बुँदे माग पूरा नभए आन्दोलनमा उत्रने हिस्टुनको चेतावनी (मागसहित) काठमाडौं। माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) ले सरकारसमक्ष राखेकाे विभिन्न १६ बुँदे माग पूरा नभए आन्दोलनमा उत्रने चेतावनी दिएको छ । हिस्टुनको प्रतिनिधिमण्डलले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा ध्यानाकर्षणपत्र बुझाई एक हप्ताभित्र माग पूरा नभए  आन्दोलनमा जाने चेतावनी दिएको हाे । उच्च माध्यमिक शिक्षा ऐन २०४६ बमोजिम २०४९ देखि सञ्चालनमा आएको कक्षा ११ र १२ मा तीन दशक बितिसक्दा राज्यबाट एकजना पनि स्थायी शिक्षकको व्यवस्था हुन नसकेको हिस्टुनका नवनिर्वाचित अध्यक्ष टीकाप्रसाद न्यौपानले बताए । २०४९ देखि कार्यरत कतिपय शिक्षकहरु उमेर हदका कारण घर फर्केको र कतिपय घर फर्कनुपर्ने अवस्थामा रहँंदा पनि सरकार मुकदर्शक भएर बसेकोले सकारको ध्यानाकर्षण गराएको अध्यक्ष न्यौपानले बताए । ‘हिस्टुन यस्तै साविक उच्च माध्यमिक तह कक्षा ११ र १२ मा कार्यरत शिक्षकहरुको साझा छाता संगठन हो,’  हिस्टुनका नवनिर्वाचित महासचिव शंकर तिवारीले भने, ‘शिक्षकको पेशागत हकहित र सुनिश्चिताका लागि हिस्टुन बाध्यात्मक अवस्थाले निरन्तर संघर्ष र आन्दोलनमा छ र हाम्रो आन्दोलन जारी नै रहनेछ ।’ विगतका नजिरलाई हेर्दै सामाजिक न्याय र प्राकृतिक न्यायको सिद्धान्तका आधारमा अब बन्दै गरेको संघीय शिक्षा ऐन र शिक्षा नियमावलीमा कानुन बनाएर साविक उच्च माध्यमिक तह कक्षा ११ र १२ मा कार्यरत शिक्षकको व्यस्थापनका लागि शिक्षा मन्त्रालयको ध्यानाकर्षण पत्र पेश गरेको उनले जनाए । माग पूरा नभएमा कक्षा ११ र १२ को परीक्षा हुन दिने र कापी जाँंच नगर्नेलगायतका आन्दोलनको कार्यक्रम गर्ने चेतावनी उनीहरुले दिए । हिस्टुनका मागहरु १)     राज्यलाई थप आर्थिक व्यय भार नपर्ने केही नीतिगत व्यवस्थाका लागि मन्त्रीस्तरीय वा सचिवस्तरीय      निर्णयबाट सम्बन्धित निकायलाई निम्नलिखित विषयमा एकहप्ताभित्र निर्देशन जारी गरियोस् । क)  साविक उमावि तहमा दरवन्दी मिलान तथा सरुवा सुविधाकोे बाटो खुला हुने व्यवस्था । ख) साविक उ.मा.वि. तहमा कार्यरत शिक्षकलाई राज्यले माध्यमिक तह द्वितीय श्रेणीको सेवा     सुविधा     उपलब्ध गराउँदै आएको हुँदा सो अनुसारको मर्यादाक्रमको निर्धारणको व्यवस्था । ग) उच्च माध्यमिक शिक्षक व्यवस्थापन निर्देशिका २०७१ अनुसार नियुक्त भएका शिक्षकहरुको हकमा     अध्यापन अनुमति आवश्यक नरहेको कानुनी व्यवस्था तर शिक्षा ऐनको आठौं संशोधनले अध्यापन अनुमति पत्रलाई अनिवार्य गरेकोमा अस्थायी लाइसेन्स प्राप्त शिक्षकहरुको लाइसेन्सको म्याद थप गरी स्वतः स्थायी दिने व्यवस्था मिलाइयोस् । लाइसेन्सको विषयलाई लिएर कतिपय विद्यालयमा कार्यरत शिक्षकहरुलाई व्यवस्थापन समितिहरुले अध्यापन अनुमति पत्रका नाममा साविक उमावि शिक्षकहरुलाई अवकास दिने निर्णय गरेकाले त्यस्ता निर्णय अबिलम्व फिर्ता लिन र कार्यरत शिक्षकलाई पुनः सोही पदमा वहाली गर्न सम्बधित निकायमार्फत विद्यालय/वि.व्य.स.हरुलाई निर्देशन गर्दै अध्यापन अनुमति पत्रको प्रावधानलाई विश्वविद्यालय र साविक उमावि तह दुवै तर्फ एउटै मापदण्ड कायम गरी कार्यान्वयन गर्ने व्यवस्था मिलाउनुका साथै विषयगत अध्यापन अनुमति पत्रको व्यवस्था । घ)    साविक उमावि तहका शिक्षकहरुको साप्ताहिक पाठ्य घण्टीको स्पष्ट व्यवस्था गरियोस् । २) साविक उ.मा.वि. तहका चार हजार अनुदान कोटालाई आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्य मार्फत दरबन्दीमा रुपान्तरण गरियोस् । (यसो गर्दा राज्यलाई थप आर्थिक व्यय भार पर्दैन ।) ३) कक्षा १२ सम्मको शिक्षालाई पूर्णतः निःशुल्क हुने संवैधानिक व्यवस्थालाई तत्काल कार्यान्वयन गरियोस् । ४) नेपालको संविधानले माध्यमिक तह कक्षा १२ सम्मलाई तोकेको कक्षा १२ को परीक्षालाई एसएलसी वा विद्यालय तहको अन्तिम परीक्षा मानेकाले एसईई परीक्षा खारेज गरी १० कक्षा सम्मको परीक्षा सञ्चालन र प्रमाणीकरण गर्ने अधिकार सम्बन्धित विद्यालयलाई नै दिने व्यवस्था गरियोस् । ५) संघीय शिक्षा ऐन जारी गर्नुभन्दा पहिला सरोकारवाला पक्षसंग व्यापक छलफल गरी २०८० साल भित्र संघीय शिक्षा ऐन जारी गरियोस् । ६) साविक उमावि तहमा अध्यापनरत रहेकै समयमा ६० वर्ष उमेरहदका कारण सेवा निवृत्त हुनुभएका शिक्षकहरुका हकमा छट्टै कार्यविधि निर्माण गरेर त्यस्ता शिक्षकहरुको लागि उपादान, सञ्चित बिरामी विदा सहितका सेवासुविधा उपलव्ध गराइयोस् । ७) साविक उमावि तह÷विद्यालयमा कार्यरत शिक्षक÷कर्मचारीहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गरियोस् । ८) कक्षा ११ र १२ मा अध्ययन गरेका सवै विषय र विषयगत उपलव्धि समेत खुल्ने गरी प्रमाणपत्रको व्यवस्था गरियोस् । ९) संघीय शिक्षा ऐनमा साविक उमावि तहमा कार्यरत शिक्षकलाई उमेर हद नलाग्ने र आन्तरिक प्रक्रियाबाट व्यवस्थापन गरिनुपर्ने प्रावधान ल्याइयोस् । १०) साविक उमावि तह साधारण प्राविधिक धार तर्फ (कक्षा ११÷१२) मा अध्यापन गर्ने दरबन्दी/अनुदान/आंशिक शिक्षकको सेवा अवधि सहितको अभिलेख तयार पारी एउटै कोष मार्फत् एकद्वार प्रणाली कायम गरी खर्च भुक्तानी गर्नेे व्यवस्था मिलाइयोस् । ११) विद्यालयको तहगत संरचना परिवर्तन गरी तह सम्वन्धी स्पष्ट कानुनी व्यवस्था मार्फत् माध्यमिक तहलाई जुनियर माध्यमिक तह (९–१०) र सिनियर माध्यमिक तह (११–१२) गरी २ भागमा वर्गीकरण गरियोस् । १२) साविक उ.मा.वि. तह दुर्गम तथा पिछडिएको क्षेत्रमा अनुदान कोटामा कार्यरत शिक्षकहरुलाई स्थानीय भत्ताको व्यवस्था गरियोस् । १३) राष्ट्रिय परीक्षा वोर्डवाट सञ्चालन गरिने कक्षा १२ को वार्षिक परीक्षामा विगतमा कक्षा ११÷ १२ मा अध्यापन गराउने शिक्षकहरुलाई पर्यवेक्षकको जिम्मेवारी सुम्पिने गरिएकोे भएतापनि हाल सो व्यवस्था हटाइएकोमा पर्यवेक्षकको व्यवस्था नहुँदा परीक्षाको मर्यादामा प्रभावकारिता नदेखिएकोले पुनः यसको व्यवस्थामा पुनर्विचार गरी साविक उमावि तहमा अध्यापन गर्ने शिक्षकहरु मध्येबाट पर्यवेक्षकको जिम्मेवारी दिने निर्णय गरियोस् । १४) सेवा प्रवेशका विविधताहरु मध्ये साविक उ.मा.वि. तह प्राविधिक धार तथा संस्थागत विद्यालयमा अध्यापन गर्ने शिक्षकहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरियोस् । १५) विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि विषयगत शिक्षकको व्यवस्था, पर्याप्त भौतिक पूर्वाधार र प्रविधिमैत्री शिक्षण विधिका यथेष्ठ साधनको उचित व्यवस्थापन गरियोस् । १६) विद्यार्थी तथा अभिभावकलाई आर्थिक व्ययभार थपिने महँङ्गो मासिक शिक्षण शुल्कका सम्बन्धमा अनुगमन र निरीक्षण गरी विद्यार्थीले निःशुल्क वा कम शुल्कका रुपमा अध्ययन गर्न पाउने कुराको सुनिश्चितता गरियोस् ।
रवि लामिछानेका सवारी चालक थापाको अन्त्येष्टि काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालक शम्भु थापाको बुधबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। ४ वैशाखमा सभापति लामिछानेको चितवनस्थित घरबाट  खसेर घाइते भएका सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ का ३९ वर्षीय चालक थापाको उपचारका क्रममा मंगलबार मेडिसिटी अस्पतालमा निधन भएको थियो। उनको अन्त्येष्टिमा सभापति लामिछानेसहित रास्वपाका नेता तथा कार्यकर्ता, शुभेच्छुक पशुपतिस्थित आर्यघाट पुगेर थापाप्रति अन्तिम श्रद्धाञ्जली दिएका छन्।
किसानले बारी जोत्न ट्र्याक्टर छाडेर गोरुकै प्रयोग गर्दै सिन्धुपाल्चोक। परम्परागत कृषि कर्ममा अभिन्न अंग मानिएको हलो र गोरुलाई हिजोआज ट्र्याक्टरले विस्थापित गर्न थालेको छ । किसानले विस्तारै गोरु पाल्न छोडेको देखिन्छ । तर, सिन्धुपाल्चोकका किसान भने ट्र्याक्टरको प्रयोग छाडेर गोरुकै प्रयोग गर्र्न थालेका छन् । भौगोलिक विकटताका कारण सबै ठाउँमा ट्र्याक्टर लैजान झन्झटिलो हुने भएपछि आफ्ना खेतबारी जोत्नका लागि सिन्धुपाल्चोकका किसानले गोरुकै प्रयोग गर्न थालेका हुन् । गोरुप्रति किसानको आकर्षण बढ्न थालेसँगै स्थानीय सरकारले पनि ट्र्याक्टरको साटो गोरु नै अनुदानमा दिन थालेका छन् । बाह्रबिसे नगरपालिकाकका नगर प्रमुख बालकृष्ण बस्नेतका अनुसार सात सयजना किसनालाई गोरु अनुदान दिइएको छ । अनुदानसँगै गोरुको बीमा गरिएको नगर प्रमख बस्नेतले जानकारी दिए। उनले एउटा किसान बराबर रु १० हजारको दरले सात लाख अनुदानस्वरुप दिइसकेको बताए। भौगोलिक अवस्थाका कारण सबै ठाउँमा ट्र्याक्टर लैजान गाह्रो हुने मात्र होइन खेतबारी गहिरोसँग ट्र्याक्टरले नखन्ने र मर्मत गरिरहुनपर्ने, तेल प्रयोगका कारण महङ्गो हुने जस्ता समस्याका कारण आफूहरुले गोरुकै प्रयोग गर्न थालेको बाह्रबिसेका किसान हरिप्रसाद तिमल्सिना बताउँछन्। केही समय ट्र्याक्टरको प्रयोग गरेको र ट्र्याक्टर बिग्रन थालेपछि खेतबारीमा जोत्नमा नै समस्या आएको उनको भनाइ छ । राम्चेका किसान अटलबहादुर तामाङले भने ट्र्याक्टरको प्रयोग गर्दा उब्जनी नै कम भएको अनुभव सुनाउँछन्। गोरुले जोते जस्तै ट्र्याक्टरले राम्रो नजोत्ने हुँदा उब्जनी नै कम भएको उनको अनुभव छ । ट्र्याक्टर प्रयोग गर्न थालेपछि प्राङ्गारिक मलको पनि अभाव हुने भएकोले फेरि गोरुको प्रयोग गर्न थालेको उनी बताउँछन्।
वैदेशिक रोजगारमा आकर्षित हुँदै खेलाडी रामपुर। खेल क्षेत्रमै सम्भावना बोकेका खेलाडी पछिल्लो समय वैदेशिक रोजगारका लागि आकर्षित भइरहेका छन्। रामपुर नगरपालिका–७ किसानबारी बस्ने असिम राना आफ्नै खर्चमा खेलमा लगानी गरेर प्रतिस्पर्धा गर्नुपर्दा खेलाडीलाई समस्या पर्ने गरेको बताउँछन्। आठवर्षदेखि भलिबल खेलमा आबद्ध उनी अहिले २४ वर्षको भए। प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा लुम्बिनी प्रदेशको नेतृत्व गर्दै राष्ट्रियस्तरसम्मको खेलसमेत खेलिरहेका छन्। कक्षा १२ उत्तीर्णपश्चात् अध्ययनलाई बीचमै छाडेर खेलमा होमिएका उनी अहिले भने आर्थिक समस्याका कारण स्वदेशमै खेलबाट भविष्य नदेखेपछि वैदेशिक यात्रा तय गरेका छन्। “खेल खेल्ने रुचि र इच्छा धेरै भएपनि आर्थिक सङ्कटले भलिबलमा जीवन बिताउन सक्छु भन्ने सपना देखिनँ”, उनले भने,“खेलाडी पैसाले भरिपूर्ण हुँदैन, आफैँले लगानी गर्नुपर्दा यस क्षेत्रलाई छाडेर वैदेशिक रोजगारको सपना बुनेको छु।” राज्यले स्तर छुट्याएर राम्रो खेलाडी स्वदेशमै टिकाइराख्न भत्ताको व्यवस्था, रोजगारको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ। खेलाडी आफैँले लगानी गरेर खेल खेल्नुपर्दा यसबाट भविष्य नदेखेको उनको भनाइ छ। खेल खेलेर विजयी हुँदामात्र पैसा हुने नत्र आफैँले सबै खर्च जुटाउनुपर्दा कठिन छ। आफ्नै खर्च गरेर अन्यत्र प्रतिस्पर्धामा जानुपर्दा खेलाडीलाई समस्याले पिरोल्ने गरेको छ। पूर्वखोला गाउँपालिका–६ हेक्लाङका २२ वर्षीय देउबहादुर सिंजाली पाँचवर्षदेखि भलिबल खेल खेल्दै आएका छन्। कक्षा १२ सम्मको अध्ययन गरेका उनी खेल क्षेत्रबाट राम्रो गर्छु भन्ने सपना बोकेर सो क्षेत्रमा प्रवेश गरे। खेल खेल्दै जाँदा आर्थिक समस्याका कारण उनीपनि वैदेशिक रोजगारमा जाने तयारीमा छन्। प्रतियोगिता हुँदामात्रै खेल खेलाइने भएकाले अन्य समय खाली बस्नुपर्दा आर्थिक उपाजर्नमा समस्या परिरहेको उनको गुनासो छ । बाहिर प्रतिस्पर्धामा जाँदा खाने, बस्नेलगायतका क्षेत्रमा आफैँले लगानी गर्नुपर्दा खेलाडीलाई समस्या परेको तिनाउँ गाउँपालिका–५ बिस्कुनडाँडाका १७ वर्षीय रेशम विक बताउँछन्। उनी भविष्यमा खेलबाट पहिचान दिन भलिबलमा आकर्षित छन्। कक्षा ११ मा दमकडा माध्यमिक विद्यालयमा व्यवस्थापन समूहमा अध्ययनरत विकले अहिले पढाइसँगै खेललाई अगाडि बढाएका छन्। तीनवर्षदेखि विभिन्न जिल्ला तथा प्रदेशस्तरीय खेलमा प्रतिस्पर्धा गरिरहेका छन्। खेलमा राज्यले सहयोग गरी खेलाडीलाई स्वदेशमै बस्ने वातावरण बनाइदिएमा यसैबाट राम्रो खेलाडी बनेर चिनिने उनको सोच छ। खेलाडीलाई संरक्षण र रोजगार दिन सकियो भने खेलाडीले नेपालमा बसेर खेल उत्पादन गर्ने प्रक्रियालाई अझ बढावा दिनेछन्, राज्यले खेलाडीको संरक्षण गर्न नसकेको बताउँछन्, राष्ट्रिय भलिबल रेफ्री तथा प्रशिक्षक अनन्त श्रेष्ठ। उमेर हुँदासम्म खेल खेल्ने र खेल खेल्ने उमेर सकिएपछि घरपरिवारको गुजारा चलाउन राम्रो सम्भावना बोकेका खेलाडी विदेशतिर खेलाडी जान बाध्य रहेको श्रेष्ठले बताए। उनी २०५२ देखि २०६५ सालसम्म निरन्तर भलिबल खेलमार्फत स्थानीय, जिल्ला हुँदै राष्ट्रियस्तरसम्मको खेलमा प्रतिस्पर्धामा पुगे। भलिबल खेल खेल्ने क्रममा धेरै अनुभव बटुलेका उनी हाल भलिवल रेफ्री तथा प्रशिक्षकको काम गर्दै आएका छन्। “खेलको लागि राम्रो सम्भावना बोकेका खेलाडी उत्पादन छन्, तिनलाई जिल्लाले संवद्र्धन र संरक्षण गर्नुपर्ने हो, प्रदेशमा पुगेका खेलाडीलाई पहिचान हुने गरी एउटा रोजगारीको भूमिका निभाएर संरक्षण गरेर राख्नुपर्ने थियो”, उनले भने,“राज्यले पनि अन्तर्राष्ट्रियस्तरमा खेल खेलिसकेका खेलाडीलाई नेपालमै राखेर स्वदेशको खेलकुदको विकासका लागि गर्नुपर्ने दायित्व पूरा गर्न सकेको छैन।” राज्यले कुनैपनि समस्या समाधानका लागि योजना बनाएर खेल क्षेत्रका विकास गर्ने हो भने ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारा पूरा हुनेछ। राज्यले खेल्नुपर्ने भूमिका सहज ढंगले खेलिदिएको खण्डमा विदेश पलायन हुने दर घट्नेछ। स्थानीयस्तरदेखि जिल्ला, प्रदेश र राष्ट्रियस्तरसम्म जतिपनि खेलाडी उत्पादन हुन्छन् ती खेलाडीको रोजगारको तरिकाले जुनसुकै माध्यमले संरक्षण गर्न सकियो खेलकुद क्षेत्रको विकास हुनेछ। – रासस
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ दाङ। घोराहीमा जुवातास खेलिरहेको अवस्थामा सात जनालाई प्रहरीले पक्राउ गरेको छ। घोराही उपमहानगरपालिका-१८ नवलपुरस्थित स्युजाली होटल एण्ड लजमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-१७ बस्ने ४६ वर्षीय माधव गैरे समेत ७ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो। विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालोय घोराहीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९२ हजार २ सय ७० रूपैयाँ र १ बुक ताससहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
अरुण तेस्रोमा कार्यरत एक मजदुरको मृत्यु, दुई घाइते किमाथांका। संखुवासभामा निमार्णाधीन नौ सय मेगावाट विद्युत् उत्पादन क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनामा अडिट–२ मा कार्यरत एक मजदुरको मृत्यु भएको छ। मकालु गाउँपालिका–५ आमाराङस्थित अडिट–२ को सुरुङभित्र माथिबाट ढुंगा खसेर सिलिचोङ गाउँपालिका–५ का २७ वर्षीया प्रेम राईको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सरोज खनालका अनुसार गए राति मकालु–५ आमाराङमा सुरुङभित्र काम गर्ने क्रममा माथिबाट खसेको ढुंगाले लागेर घाइते भएका राईको उपचारका क्रममा आज बिहान संखुवासभा जिल्ला अस्पतालमा मृत्यु भएको हो। सुरुङभित्र काम गर्ने क्रममा अन्य दुई मजदुरसमेत घाइते भएका छन्। घाइते हुनेमा भारतको गुवाहाटीका २३ वर्षीय सममती वलिता र २३ वर्षीया साइमुदिन अली रहेका छन्। घाइते वलिताको दाहिने खुट्टा र घुँडामा चोट लागेको छ भने अलीको खुट्टा र हातमा चोट लागेको छ। दुवैजनाको जिल्ला अस्पतालमा उपचार गरिएको छ। अरुण तेस्रो आयोजनामा नेपाली र भारतीयसहित तीन हजारभन्दा बढी मजदुर कार्यरत छन्। अरुण तेस्रो जलविद्युत्को आयोजनास्थलमा स्वास्थ्य संस्था नहुँदा उपचारको समस्या भएको छ। मजदुरलाई चोटपटक लागेर घाइते भए समयमा उपचार नपाउँदा ज्यान गुमाउनु पर्ने अवस्था छ। आयोजनास्थलमा काम गर्ने मजदुरको समय–समयमा स्वास्थ्य परीक्षण गर्नुपर्ने विकास सम्झौतामा उल्लेख भए पनि आजसम्म ती मजदुरको स्वास्थ्य परीक्षण नभएको मजदुर बताउँछन्। विद्युत्गृहस्थलमा ‘पटेल इञ्जीनियरिङ’ र ड्यामसाइडमा ‘जयप्रकाश एशोसिएटस् कम्पनी’ले काम गरिरहेको आयोजनाले जनाएको छ। निर्माण सम्पन्न भएको २५ वर्षपछि परियोजना नेपाल सरकारको स्वामित्वमा आउने बताइएको छ।
आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै काठमाडौं। प्रेस स्वतन्त्रताको संरक्षण र संवर्द्धनमा जोड दिँदै नेपालका पत्रकारहरुले पनि आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाउँदैछन्। सन् १९९३ को संयुक्त राष्ट्रसंघको साधारण सभाले अनुमोदन गरेपछि यो दिन संसारभरि प्रेस स्वतन्त्रता दिवस मनाउन थालिएको हो। हरेक वर्षको मे महिनाको ३ तारिखमा विश्वभरि सञ्चारका माध्यमहरूको स्वतन्त्रताका मुद्दा, मापदण्ड र महत्वको विषयमा पैरवी अनि बहस गरिँदै समाचार संकलनका क्रममा जोखिममा परेका र ज्यान गुमाएका पत्रकारहरूको योगदानको सम्झना सहित र सम्मान गर्दै मनाइन्छ। ससंयुक्त राष्ट्र संघीय निकाय युनेस्कोको आयोजनामा नामिबियाको विन्डहक शहरमा भएको पत्रकारहरुको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र’ जारी गरेको थियो। सोही घोषणा पत्र जारी गरेको दिनको सम्झनामा सन् १९९३ देखि हरेक बर्ष यो दिवस पत्रकारहरुले उत्सवको रुपमा मनाउँदै आएका छन्। संयुक्त राष्ट्रसंघले यो दिवस मनाउने निर्णय गरेसँगै नेपालले पनि मे ३ का दिनमा विश्व प्रेस स्वतन्त्रता दिवस मनाउँदै आएको छ। नेपाल पत्रकार महासंघले आज बिहान ७ बजे प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ भने बिहान ९ बजे पत्रकार महास‌‌काे सभाकक्ष सञ्चारग्राम, तिलगंगामा ‘प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षा बार्षिक प्रतिवेदन’ सार्वजनिक कार्यक्रम आयोजना गरिएको छ।
आजको मौसम: मुलुककाे पहाडी भू-भागमा पानी पर्ने संभावना काठमाडौं। हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ, जसका कारण सुदूरपश्चिम प्रदेशका थोरै स्थान र अन्य पहाडी पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ। दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू-भागका केही स्थानहरु तथा बाँकी भू-भागमा एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। राति भने देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।
सभापति लामिछानेका सवारी चालकको मृत्युप्रति रास्वपाद्वारा दुःख व्यक्त काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेका  सवारी चालक दिलबहादुर थापा (शम्भु)को मृत्युप्रति दुःख व्यक्त गरेको छ । महामन्त्री डा. मुकुल ढकालद्वारा जारी विज्ञप्तिमा पार्टी निर्माणमा थापाको पनि योगदान रहेको उल्लेख गरिएको छ । विज्ञप्तिमा चालक थापाको उपचारका क्रममा निधन भएको र  उनको देहावसानबाट पार्टी परिवार स्तब्ध भएको बताइएको छ ।
अखाद्य वस्तु मिसावट गरी मह उत्पादन, एक पक्राउ काठमाडौं । नेपाल प्रहरीले अखाद्य वस्तु मिसावट गरी मह उत्पादन गर्ने एकजनालाई पक्राउ गरेको छ । प्रहरी प्रभाग बूढानीलकण्ठको टोलीले काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–२ स्थित गार्डेन अपिएरी उद्योग प्रालिमा अखाद्य वस्तु मिसावट गरी मह उत्पादन गर्ने ५७ वर्षीय पवन सत्याललाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले अखाद्य वस्तु मिसावट गरी अवैधरूपमा मह उत्पादन गरी बजारमा बेचबिखन गरिरहेको सूचनाका आधारमा सत्याललाई उद्योगबाटै पक्राउ गरिएको जानकारी दिए । प्रहरीले सत्यालसँग सात सय बट्टा तयारी मह र ४० बाल्टिन कच्चा पदार्थ बरामद गरेको छ । उक्त महको बजार मूल्य रु पाँच लाख रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनलाई कालोबजारी तथा केही अन्य सामाजिक अपराध ऐन, २०३२ बमोजिम प्रहरी वृत्त महाराजगञ्जबाट थप अनुसन्धान भइरहेको प्रवक्ता रिजालले बताए ।
महाकाली नदीमा डुबेर एक जनाको मृत्यु कञ्चनपुर । कञ्चनपुरको महाकाली नदीमा डुबेर एक जनाको ज्यान गएको छ । दोधारा चाँदनी नगरपालिका–१० का ७५ वर्षीय रनु नाथको महाकाली नदीमा डुबेर मृत्यु भएको हो । सोमबार रातिदेखि बेपत्ता नाथ मंगलबार फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । उनी बिहान मृत अवस्थामा नदीमा तैरिरहेको अवस्थामा फेला परेका हुन् । उनको पोष्टमार्टम गरी दाहसंस्कार गरिएको छ ।
मालपोत अधिकृतसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय पर्साका तत्कालीन मालपोत अधिकृत पदमप्रसाद अर्याल र तत्कालीन नायब सुब्बा लेखनाथ भट्टराईसमेत चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । गलत लिखत तयार गरी ऐलानी जग्गामा बनेको घर राजीनामा पास गरिदिएर भ्रष्टाचार गरेको भन्दै चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो । पर्साको साविक अलौ गाविस वडा नम्बर ५ को  कित्ता नम्बर ९२ को सार्वजनिक जग्गा गलत लिखत तयार गरी गलत राजीनामा लिखत पारित गरिदिएको अभियोगपत्रमा उल्लेख छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर २ बस्ने ज्याउल हक र एसानुल हक राकीले सार्वजनिक जग्गामा बनेको घर स्वामित्व खुल्ने कागजात बेगर राजीनामा लिखत पारित गराई लिएरदिएको अभियोगपत्रमा उल्लेख छ । कानूनविपरीत भोगचलन हस्तान्तरण गर्ने गैरकानूनी कार्यमा कर्मचारीलाई सहयोग गरी आफूहरूले पनि फाइदा लिई नेपाल सरकारलाई हानी पुर्‍याएको पुष्टि भएको हुँदा ज्याउल हक र एसानुल हक राकीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जनाएका छन् ।
रवि लामिछानेका सवारी चालक थापाको निधन काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालक शम्भु थापाको उपचारको क्रममा मंगलबार निधन भएको छ। ४ वैशाखमा सभापति लामिछानेको चितवनस्थित घरको छतबाट खसेर घाइते भएका सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ का ३९ वर्षीय चालक थापाको मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो। भरतपुरमा प्रारम्भिक उपचारपछि ५ वैशाखमा थापालाई हेलिकप्टरमार्फत् काठमाडौं ल्याएर उपचार गरिएको थियो । उनलाई भेन्टिलेटरमा राखेर उपचार गराइएको थियो। उनको टाउकोमा गहिरो चोट लागेको थियो।
अखाद्य वस्तु मिसाएर मह उत्पादन गर्ने व्यक्ति पक्राउ काठमाडौँ। अखाद्य वस्तु मिसावट गरी अवैध रूपमा मह उत्पादन गरेको अभियोगमा बुढानिलकण्ठ नगरपालिका-२ बस्ने ५७ वर्षीय पवन सत्याललई प्रहरीले पक्राउ गरेको छ। बूढानीलकण्ठ नगरपालिका-२ स्थित पवनले सञ्चालन गरेको गार्डेन अपिएरि उद्योग प्रालिमा अखाद्य मिसावट गरी अवैध रुपमा मह उत्पादन गरी बजारमा बेचबिखन गरिरहेको भन्ने सूचनाको आधारमा प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा अखाद्य वस्तु मिसावट गरिएको तयारी मह र मह बनाउन प्रयोग हुने कच्चा पदार्थसहित फेला पारी उनलाई पक्राउ गरेको हो। उक्त उद्योगबाट तयारी मह करिब ७ सय बट्टा र कच्चा पदार्थ ४० बाल्टिन प्रहरीले बरामद गरेको छ। कालोबजारी तथा केही अन्य सामाजिक अपराध ऐन, २०३२ बमोजिम प्रहरी वृत्त महाराजगंजबाट थप अनुसन्धान भइरहेको छ।
गौतमबुद्धको अस्थिधातु सर्वसाधारणको दर्शनलाई खुल्ला भैरहवा। लुम्बिनीमा सोमबारदेखि भगवान गौतमबुद्धको अस्थिधातु सर्वसाधारणले दर्शन गर्न पाउने गरी खुल्ला गरिएको छ। यसअघि बुद्धजयन्तीका दिन मात्र दर्शनका लागि खुल्ला गरिने बुद्धका अस्थिधातु अब सधैँ दर्शन गर्न सकिने व्यवस्था गरिएको छ। अन्तर्राष्ट्रिय बौद्ध समाजको आयोजनामा धर्मोदयसभा परिसरमा रहेको नवमैत्री महावीर बिहारको प्रांगणमा सर्वज्ञ धातु स्तूपा निर्माण गरी अस्थिधातु राखिएको छ। सर्वज्ञ धातु स्तूपा जेडरल रिम्पोछेको पूण्य स्मृतिमा राप्तेन सांगे लामाले निर्माण गर्रेका हुन्। सो स्तूपामा रहेको अस्थिधातु सर्वसाधारणले बिहानको ८ बजेदेखि साँझ ५ बजेसम्म दर्शन गर्न सकिने अन्तर्राष्ट्रिय बौद्ध समाजका अध्यक्ष भिक्षु मैत्री महस्थवीरले बताए। “नेपालमा आनन्दकुटिमा मात्र यसरी अस्थिधातु राखिएको मलाई जानकारी छ, त्यहाँ बुद्धपूर्णिमाको दिन दर्शनको लागि खुल्ला गरिन्छ”, उनले भने, “हामीले लुम्बिनीमा पनि बुद्धजयन्तीकै अवसर पारेर मायादेवी प्राङ्गणमा दर्शन गर्न खोलेका थियौँ, अहिले सधैँका लागि खोलेका हौँ।” बुद्ध धर्ममा अस्थिधातुको निकै महत्व रहेको छ । भिक्षु मैत्रीका अनुसार भगवान बुद्धको महापरिनिर्वाणपछि अङ्ग, मगध, शाक्य, कोलिय, कोशल, बैशाली, पावा, कुशीनगर गरी तत्कालीन आठ राज्यबीच अस्थि बाँडफाँडबारे ठूलो विवाद भएको थियो। त्यति समयका द्रोण भन्ने ब्राम्हणले विवाद मिलाउँदै आठ राज्यलाई र अन्य दुई गरी १० स्थानमा धातु चैत्य स्थापना गरी अस्थि राखिएको थियो। अस्थि विभिन्न ठाउँमा छरिएर रहँदा संरक्षण नहुने ठानी त्यस वेलाका प्रभावशाली भिक्षु महाकश्यप महास्थवीरको पहलमा राजा अजातशत्रुको समयमा ती स्तूपमा केही बाँकी राखी मगधमा ल्याइएको महावंशमा उल्लेख भएको मैत्री भिक्षुले बताए। पछि ८४ हजार स्तूपा बनाउने अभियानका क्रममा सम्राट अशोक भिक्षु महाकश्यपले बाँकी छाडेका अस्थिधातु (रामग्राम र कपिलवस्तु बाहेक) सङ्कलन गरी सुरक्षित स्थानमा राखेका थिए। हाल श्रीलङ्कामा रहेको उक्त स्थानबाट विभिन्न समयमा नेपाललाई प्रदान गरिएकामध्ये दुई थान र धम्मकाय फाउण्डेशनबाटसमेत गरी करिब आठ थान अस्थिधातु दर्शनका लागि खुल्ला गरिएको अन्तर्राष्ट्रिय बौद्ध समाजका अध्यक्ष भिक्षु मैत्री महस्थवीरले बताए। यी धातुलाई विशेष सुरक्षासहित सुनको फूल बनाइ दर्शनको लागि राखिएको छ। भगवान गौतमबुद्धसँग प्रत्यक्ष सम्बन्ध राख्ने अस्थिधातु दर्शन गर्न पहिलो दिन नै पर्यटक आइपुगेका छन्। लुम्बिनी भ्रमणमै रहनुभएका भारत महाराष्ट्रका बौद्धगुरु बुद्धरत्नले बुद्ध रुप रहेको अस्थिधातु दर्शनले आफु कृतज्ञ भएको बताए। अस्थिधातु हुनु भनेको बुद्ध जन्मेको प्रमाण भएको उनको भनाइ छ। “अस्थिधातुकै लागि बौद्ध अनुयायी अन्य देशमा जानुपरेको हुन्छ”, उनले भने, “लुम्बिनी आएको समयमा अस्थिधातुको दर्शन गर्न पाइयो, यो मेरो अहोभाग्य हो।” यही वैशाख २२ गते २५६७ औँ बुद्धजयन्ती परेको छ। लुम्बिनीमा यसको तयारी तीव्र पारिएको छ। बुद्धजयन्तीको दिन दर्शनार्थीलाई दर्शन गर्न सहज होस भन्ने उद्देश्यसहित पाँच दिन अगावै बुद्ध अस्थिधातु दर्शनको लागि खुल्ला गरिएको हो।
अठार घन्टापछि एकतर्फी खुल्यो पृथ्वी राजमार्ग काठमाडाैं। पृथ्वी राजमार्गअन्तर्गत धादिङको धार्केमा पुलको छेउमा जमिन भासिएर अवरुद्ध बनेको सडक एकतर्फीरुपमा खुलेको छ। धुनीबेँसी नगरपालिका-६ र थाक्रे गाउँपालिका-८ को सिमाना जोड्ने गणेशखोला पुलमाको जमि भासिँदा सोमबार अपराह्न ४ बजेदेखि ठप्प बनेको राजमार्ग मङ्गलबार बिहान १० बजेबाट एकतर्फी खुलाइएको हो। भासिएको ठाउँमा ग्यावियन जाली भरेर एकतर्फी सवारीसाधन सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए। नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले रातभर पनि काम गरेका थिए। यातायात ठप्प हुँदा धार्के र धार्के आसपासमा लागेको सवारी जाम हटाउन हम्मेहम्मे छ। पूर्व-पश्चिमका जिल्लाबाट रातिको समयमा धादिङ आइपुगेका सवारीलाई प्रहरीले चौकी र बजार क्षेत्र आसपासमा रोकेर राखेको छ। पूर्व-पश्चिमबाट राजधानी काठमाडौँ आउँदै गरेका सवारीलाई प्रहरीले धादिङको जोगिमारा, मलेखु, घाटबेँसी, आदमघाटलगायतका बजार र प्रहरी चौकी आसपासमा राखिएको छ। बाटो एकतर्फी खुलाइए पनि तत्कात सहजै बाटो पास गर्न कठिन छ । सयौँ सवारी सडकमा रोकिएकाले ती सवारीसाधन पार गराउन अझै केही घन्टा लाग्ने प्रहरीको भनाइ छ।
कमर्सियल गाडीको लागि एक्साइड एक्सप्रेस ब्याट्रीको साथ काठमाडौँ। पिकअप, ट्रक, टिप्पर, बस जस्ता कमर्सियल गाडीहरुको लागि उच्च प्रविधिबाट निर्मित एक्साइडको एक्सप्रेस ब्याट्री नेपालमा किफायती साबित भइरहेको छ। सिप्रदी ट्रेडिङ्ग प्रा.लि.ले नेपाली बजारमा सबै प्रकारका ठूला गाडीहरुमा प्रयोग गर्न सकिने एक्साइड एक्सप्रेस ब्याट्री विक्री वितरण गरिरहेको छ। बिक्रि सुरुभएको छोटो समयमा नै गाडी व्यवसायीहरुबाट एक्साइड एक्सप्रेस ब्याट्रीप्रति सकारात्मक प्रतिक्रिया आइरहेको छ। उच्च प्रविधिबाट निर्मित एक्साइड एक्सप्रेस ब्याट्रीको उत्पादनमा उच्च तापक्रम, कम्पन तथा जोल्टिंग सहन सक्ने भरपुर क्षमता छ। कम्पनीको अनुसार “विशिष्ट ट्री रिडायल ग्रिडमा डिजाइन भएको एक्सप्रेस ब्याट्री छिटो चार्ज हुन्छ। म्याजिक आईको विशेषताले गर्दा ब्याट्रीको चार्ज अवस्था बाहिरैबाट हेर्न पनि मिल्छ। त्यसैले अत्याधुनिक डिजाइनमा बनेको एक्साइड एक्सप्रेस ठूला गाडीको लागि चर्चित ब्याट्री हुदैछ।” विशेष खालको पॉलीप्रोपाइलीन र रिब्स प्रयोग गरी बनाइएको एक्सप्रेस कन्टेनरमा चुहावट र फुट्ने–चर्कने जस्ता समस्याहरू आउँदैन। फ्याक्ट्रीबाट चार्ज भएर आउने यस ब्याट्रीलाई सिधै गाडीमा प्रयोग गर्न मिल्ने बताइन्छ। एक्सप्रेस ब्याट्री एक्साइडको नेपालभरि रहेका डिलरहरु मार्फत खरिद गर्न सकिन्छ। साथै, ग्राहकहरुले पुरानो ब्याट्री साटेर नयाँ एक्सप्रेस ब्याट्री आकर्षक छुटमा पनि प्राप्त गर्न सक्नेछन्।
उपचारका क्रममा भागेका थुनुवा पक्राउ महोत्तरी। उपचारका क्रममा प्रहरीको आँखा छली भागेको थुनुवालाई करिब एक महिनापछि प्रहरीले फेला परेको छ । महोत्तरी कारागारका थुनुवा कृष्णकुमार यादव गत चैत २४ गते बिरामी भई उपचारका लागि जनकपुर लगिएका बेला चिकित्सकको क्लिनिकबाटै भागेका थिए । सोमबार जलेश्वर नगरपालिका–३ स्थित भारतीय सीमावर्ती बस्ती मलिबारामा लुकीछिपी हिँडडुल गरिरहेका बेला यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी दिए। जिल्लाकै लोहारपट्टी नगरपालिका–९ खुट्टापिपराढीका स्थायी बासिन्दा यादव महोत्तरी जिल्ला अदालतको आदेशमा पूर्पक्ष थुनाका क्रममा महोत्तरी कारागारका थिए । जनकपुरधाम उपमहानगरपालिका–७ का १६ वर्षीय अजय भन्ने अर्जुन साहलाई २०७९ साउन २३ गते अपहरण गरेर घाँटी थिची हत्या गरेको यादवमाथि अभियोग छ । यादवउपर अपहरण तथा शरीर बन्धक, कर्तव्य ज्यान, चोरी र आपराधिक षड्यन्त्र समेतको मुद्दा महोत्तरी जिल्ला अदालतमा विचाराधीन छ । यसै मुद्दामा अदालतले २०७९ भदौ २६ गते यादवलाई पुर्पक्ष थुनामा राख्न आदेश गरेपछि उनी कारागारका थुनुवा रहँदै आएका हुन् । भगौडा यादव पक्राउ परेपछि उनीविरुद्ध कैदी/थुनुवा भागे/भगाएको थप कसुरमा कारागार ऐन, २०७९ बमोजिम कारबाही थालिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । यसका लागि सोमबार नै अदालतमा उपस्थित गराई म्याद लिई अनुसन्धान थालिएको प्रहरी उपरीक्षक मल्लले बताए।
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएकाे आरोपमा इन्द्रजित राई पक्राउ काठमाडौं। नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न भएको आरोपमा इन्द्रजित राई पक्राउ परेका छन्। उनलाई सुनाकोठी, ललितपुरबाट पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ। नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको अभियोगमा राईलाई पक्राउ गरिएको हो। उनीमाथि सोधपुछ सुरु भएको छ। उनीविरुद्ध सरकारी वकिलको कार्यालयबाट वारेन्ट जारी भएको थियो। रामबहादुर थापा बादल गृहमन्त्री हुँदा सल्लाहकार नियुक्त भएका थिए।
७२ घण्टाका लागि जमुनाह नाका बन्द हुने बाँके। नेपाल–भारत सीमास्थित जमुनाह नाका आज रातिदेखि बन्द हुने भएको छ। भारत उत्तर प्रदेशको बहराइच जिल्लामा हुने गाउँ पञ्चायत निर्वाचनका कारण आज रातीदेखि ७२ घण्टासम्म जमुनाह नाका बन्द हुन लागेको हो। आगमी २१ बैशाखमा भारत, उत्तर प्रदेशमा गाउँ पञ्चायत निर्वाचन हुदैँछ। जिल्ला प्रहरी कार्यालयका अनुसार आज राती १२ बजेदेखि २१ वैशाख बेलुका ६ बजेसम्म नेपाल–भारत आवतजावत पुर्णरुपमा बन्द हुनेछ। सोमबार निर्वाचनकाे सुरक्षा प्रयोजनका लागि ७२ घण्टाका लागि सिमा नाका बन्द गर्ने बिषयमा नेपाल–भारत सुरक्षा अधिकारीको बैठक बहराइचमा बसेको थियो। खुला सीमाका कारण सुरक्षा चुनौती बढ्न सक्ने भएकाले निर्वाचनका लागि दुई दिन सीमानाका बन्द गर्न दुवै पक्ष सहमत भएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले जानकारी दिए। उनका अनुसार साे समयमा दशगजा क्षेत्रमा दुई देशका सुरक्षाकर्मीले संयुक्त रूपमा गस्तीसमेत गर्नेछन्।
मोटरसाइकलको ठक्करबाट मृत्यु, अरनिको राजमार्ग ठप्प बनेपा। काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं १३ स्थित भैँसेपाटीमा गएराति काठमाडौँतर्फ जाँदै गरेको बा६३प २७२ नंको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ६० वर्षीय बालकृष्ण बुढाथोकीको निधन भएको छ। बुढाथोकीको उपचारका क्रममा धुलिखेल अस्पतालमा निधन भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिए। अरनिको राजमार्गअन्तर्गत भैँसेपाटी क्षेत्रमा स्थानीय बासिन्दाले प्रदर्शन गर्दा सो क्षेत्रमा आवत जावत ठप्प रहेको छ। सो क्षेत्र भइ आवात जावत गर्ने सवारीसाधन बनेपा–नाला–भक्तपुरको बाटोबाट वैकल्पिक मार्गबाट सञ्चालन भइरहेको जनाइएको छ।
अवरुद्ध सडक खुलाउन सेना सक्रिय काठमाडाैं। धादिङ धुनीबेँसी नगरपालिका वडा नं ६ स्थित गणेश खोलामा सोमबार गएको पहिरो पन्छाउन नेपाली सेना परिचालन भएको छ। उक्त स्थानमा आएको पहिरोका कारण सोमबार अपराह्नदेखि पृथ्वीराजमार्ग अवरुद्ध भएपछि सडक खुलाउन तत्कालै सेना परिचालित भएको हो। उक्त स्थानमा परिचालित सैनिक इञ्जीनियर्स टोलीले उक्त स्थानमा तत्कालै एक्रोब्रिज जडान गरिहाल्नुपर्ने अवस्था नभएको जानकारी गराएको छ। सडक विभागका कर्मचारी तथा धादिङस्थित गणबाट परिचालित फौजले रातभर करिब १० फिट तलबाट ग्यावियन वायर लगाई माटो ढुंगा भर्ने कार्य गरिरहेको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले बताए। अवरुद्ध सडक खुलाउन आज बिहानदेखि नै सेनाको थप फौज परिचालन भएको पनि उनले जानकारी दिए।
मौसम बिभागले भन्यो-आजकाे बर्षाले खेलकुद र हवाई क्षेत्र प्रभावित हुन सक्छन् काठमाडौं। आज दिनभरी जसो पर्ने पानीले खेलकुद र हवाई क्षेत्रलगायत प्रभावमा पर्ने भएका छन्। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज पर्ने पानीले खेलकुद र हवाई क्षेत्रलगायतमा प्रभावित हुन सक्ने भन्दै आवाश्यक सर्तकता अपनाउन अनुरोध गरेको छ। ‘देशै भरका केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र सडक तथा हवाई यातायात, कृषि, पर्यटन, खेलकुद लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने देखिएकोले त्यसबाट हुन सक्ने क्षति र जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ,’ महाशाखाले भनेको छ। महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आइतबारदेखिको मौसम बदली मंगलबार पनि उस्तै हुनेछ। ‘मंगलबार पनि पहाडी क्षेत्रमा बर्षा हुनेछ भने तराईमा केही मात्रामा घट्दै जानेछ, बुधबार पहाडी क्षेत्रमा मात्र केही वर्षा हुने देखिन्छ”, उनले भने। उनका अनुसार बुधबारदेखि भने केही बर्षावाला माैसम कमजोर हुँदै जानेछ। आज नेपाल र स‌युक्त अरब इमिरेटस युएईका बिचमा साेमवार पुरा हुन नसकेकाे खेल आज हुँदैछ। युएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाइरहेकाे बखतमा पानी पर्न सुरु गरे पछि राेकिन पुगेकाे थियाे। राेकिएकाे उत्त खेल सुरु गर्न प्रतिक्षा गरे पनि पानी नराेकिए पछि दिउँसाे ३ बजे पछि आजसम्मका लागि स्थगित हुन पुगेकाे हाे। जुन खेल आज ९ बजेवाट सुरु हुँदैछ। महाशाखाका अनुसार दिउँसो कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा सामान्य बदली रहने छ। देशका पहाडी भू-भागका केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहनुका साथै तराईका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको छ। यसैगरी, राती भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र देशका बाँकी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको छ।
आजको मौसमः देशैभरी पानी पर्ने संभावना काठमाडौं। हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आशिक देखि सामान्य बदली रहेको छ। दिउँसो कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा सामान्य बदली रहने छ। देशका पहाडी भू-भागका केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहनुका साथै तराईका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको छ। राति भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रही देशका बाँकी भू-भागमा आँशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र देशका बाँकी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको छ। देशै भरका केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको र सडक तथा हवाई यातायात, कृषि, पर्यटन, खेलकुद लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने देखिएकोले त्यसबाट हुन सक्ने क्षति र जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
कञ्चनपुरमा बेवारिस शव फेला धनगढी । कञ्चनपुरमा बेवारिस अवस्थामा एक जनाको शव फेला परेको छ । आइतबार प्राहरीले भीमदत्त नगरपालिका–११ भुजेला नहर किनारमा बेवारिस अवस्थामा अन्दाजी ५५ वर्षीय गहु गोरो उचाई ५ दशमलव २ फिट भएको कालो पाइन्ट खैरो सर्ट कालो कलरको हाइनेक निलो कलरको आस्कोट टाउकोमा ढाका टोपी पातलो शरिर कपाल र दारी जुंगा फुलेको पुरष अचेत अवस्थामा फेला परेको थियो । तत्काल उपचारका लागि महाकाली प्रादेशिक अस्पताल पठाएकोमा उपचारको क्रममा मृत्यु भएको कञ्चनपुर प्रहरीले जनाएको छ । शवको पहिचान भएको छैन । मृत्यु भएका पुरुषको शव सोही अस्पतालको शब गृहमा राखिएको छ । सुदूरपश्चिम प्रदेशमा पछिल्लो साढे तीन वर्षको अवधिमा फेला परेका ४६ शवको पहिचान नखुलेको पाइएको छ ।
निरा पाण्डे आचार्यको आज अन्त्येष्टि गरियो काठमाडौं। यही वैशाख ७ गते हत्या गरिएकी काठमाडौँ कपन सरस्वतीनगरकी निरा पाण्डे आचार्यको आज पशुपतिस्थित आर्यघाट अन्त्येष्टि गरिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी० को टोलीले आइतबार हत्यामा संलग्न भएको आरोपमा झापाबाट विनोद विकलाई पक्राउ गरेको थियो । सिआइबीको टोलीले निराका घरपरिवार तथा आफन्तसँग छलफल गरेर शव जिम्मा लगाएको थियो । माइती पक्षले भने प्रहरीको अनुसन्धानमा चित्त नबुझेको भन्दै अन्त्येष्टिमा सहमति जनाएको थिएन । निराको आज साँझ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको आफन्त प्रकाश श्रेष्ठले जानकारी दिए।
बीस वर्षीया युवती आफ्नै घरमा मृत फेला बाँके । बाँकेको कोहलपुरमा २० वर्षीया युवती आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छन् । कोहलपुर २ बर्दहवामा २० वर्षीया युवती प्रिती थारु गए राति करिव १२ बजेतिर मृत फेला परेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । युवती मृत अवस्थामा फेला परेको घटना शंकास्पद रहेको भन्दै प्रहरीले मृतकका श्रीमान्, ससुरा  र जेठाजुलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । मृतकले आत्महत्या गरेको हो कि हत्या नै हो भन्ने पोष्टमार्टमको रिपोर्ट आएपछि मात्रै थाहा हुने कोहलपुर प्रहरीले जनाएको छ ।
नर्स मृत्यु प्रकरणः डा ढकाल र उनका बुबाविरुद्ध दुरुत्साहनमा जाहेरी दर्ता काठमाडौं। काठमाडौंको वीर अस्पतालमा कार्यरत स्टाफ नर्स अनुमा श्रेष्ठको मृत्यु प्रकरणमा काठमाडौं महानगरपालिका–१६ बोहराटारका डा सुजन ढकाल र उनका बुबा मुरलीप्रसादविरुद्ध आत्महत्या दुरुत्साहनमा जाहेरी दर्ता भएको छ । प्रहरी वृत्त बालाजुमा अनुमाका बुबा गजेन्द्र श्रेष्ठले उनीहरूविरुद्ध जाहेरी दर्ता गरेको वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जानकारी दिए। जाहेरी दर्तापछि आज बिदा परेकाले पक्राउको अनुमति लिन नपाइएको र भोलि मङ्गलबार अदालतबाट अनुमति लिइने प्रहरीले तयारी गरेको छ । स्टाफ नर्स श्रेष्ठ शनिबार अपराह्न डा ढकालको घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । कोशी अस्पतालमा कार्यरत डा ढकालको कोठामा उनी मृत भेटिएको र त्यहाँ सुसाइड नोट पनि फेला परेको प्रहरीले जनाएको छ । उनले एउटा डायरीमा विवाह गर्न नमानेको र परिवारले पनि विवाह गर्न नदिएकाले बाँच्न मन नभएको भनी उल्लेख गरेको बताइएको छ
गुरु (बृहस्पति) उदयको बाल दोष आजदेखि सकियो काठमाडौं । एक महिनाअघि अस्त भएको गुरु उदय भई आजदेखि बाल दोष पनि सकिने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । गत चैत १७ गते शुक्रबारदेखि गुरु अस्त भएको थियो । गुरु यही वैशाख १५ गते शुक्रबार उदय भएको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । गुरुको बाल दोष आजदेखि सकिने भएकाले भोलिदेखि नै विवाह, व्रतबन्धलगायत शुभ साइत दिइएको पनि उनले सुनाए । गुरु अस्तका समयमा कामना राखेर गरिने शुभ कर्म नगर्न समितिले अनुरोध गरेको थियो । गुरु अस्त भएका दिनदेखि गुरुको अस्त दोष र वैशाख १६ देखि १८ गतेसम्म गुरुको बाल्य दोष रहने भएकाले वैशाख १८ गतेसम्म विवाह, व्रतबन्धलगायत कामना राखेर गरिने शुभ कर्मको साइत नभएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले बताए । उक्त अवधिमा इनार, बगैँचा, तलाउ निर्माण, गृहारम्भ, गृहप्रवेश, मन्दिर निर्माण, देवताको प्राणप्रतिष्ठा, चान्द्रायण आदि व्रतको आरम्भ र उद्यापन गर्न नहुने शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको थियो । यसैगरी, वधूप्रवेश, तुलादान आदि महादान, सोमयाग, अष्टका श्राद्ध, प्रथम उपाकर्म, वेदव्रत, काम्य वृषोत्सर्ग, शिशुको अतिक्रान्त संस्कार, दीक्षाग्रहण, कर्णबेध, चूडाकर्म, व्रतबन्ध, विवाह, विशिष्ट पूजा, पाठ यज्ञयागादि कहिल्यै नगरिएको देव दर्शन तथा तीर्थयात्रा, अग्निहोत्र, सन्यासग्रहण, चातुर्मास्य यज्ञ, राज्याभिषेक आदि अन्यगतिक काम्य कर्म अस्तकालमा गर्नु हँुदैन भन्ने तथ्य श्रुति, स्मृति, पुराण, ज्योतिषशास्त्र, धर्मशास्त्र आदि ग्रन्थले बताएका छन् । वैशाख १९ गतेदेखि भने यी सबै कर्म गर्न कुनै दोष नरहेको समितिले जनाएको छ । अस्त समयमा गुरु शुक्र सूर्यको समीपमा रहने भएकाले यज्ञका फलदाता देवगुरुको र शुक्रको कुनै पनि सकारात्मक प्रभाव पर्दैन भन्ने नै शास्त्रको मनसाय भएको अध्यक्ष अधिकारीले बताए । शास्त्रअनुसार फलको आशाले गरिने धार्मिक कृत्यहरू शास्त्रले निषेध गरेको समयमा गर्न मिल्दैन । यसो गरेमा जुन कामनाले गरिन्छ त्यो फल नपाइने समितिको भनाइ छ । वर्जित समयमा देशका विभिन्न धार्मिकस्थलमा सप्ताह, नवाह र ठूलाठूला यज्ञहरू भइरहेको भनी समितिले चैत अन्तिम साता विज्ञप्ति प्रकाशन गरी जानकारी गराएको थियो । गुरु अस्तका बेला पशुपति क्षेत्रलगायत धार्मिकस्थलमा ठूला धार्मिक कर्म गरिएको थियो । शास्त्रको मर्म विपरीतका यस्ता काममा जनसहभागिता भने न्यून देखिन्थ्यो । शास्त्रले निषेध गरेका समयमा व्यापारिक उद्देश्यले यस्ता कर्म गरिएकाले यसमाथि प्रतिबन्ध लगाउन जनस्तरबाट पनि माग भएको थियो ।
‘बालविवाह, जिन्दगी तबाह’ जनकपुरधाम। सप्तरीको खडक नगरपालिका–८ की सोनियाकुमारी मण्डल वडास्तरीय कोपिला बाल सञ्जालकी अध्यक्ष हुन्। उनले १४ वर्षकै उमेरमा भागेर विवाह गरेकी आफ्नी साथी माइतीघर फर्केर आउन नसकेको तर पोइलीघरमा भोगेको समस्याको खबर भने बेलाबेला आइरहेको सुनाइन् । “आठ कक्षा पढ्दै गर्दा भागेर विवाह गरेकी साथीको त्यसपछि अनुहार पनि देख्न पाएको छैन । घरपरिवारले स्वीकार्न नसकेका कारण उनी फर्केर माइती पनि आउन पाउँदिनन् तर पोइलीघरमा भोगेको समस्याबारे कहिलेकाहीँ खबर आएको सुन्छु । सायद मजस्तै पढेको भए अहिले १० कक्षामा पुग्थिन्”, मण्डलले भनिन् । आफ्नै घर छेउमा १६ वर्षकै उमेरमा विवाह गरेर आएकी अर्की बालिकाले भोगेको समस्या देखेर मण्डलको मन अमिलो हुन्छ । मण्डलको भनाइ छ, “श्रीमान्ले नै अपहेलना र कुटपिट गरिरहेका छन् । गाउँ समाजका मान्छेले सम्झाउँदा ‘मेरो श्रीमती हो तिमीहरूलाई के मतलब’ भनेर थर्काउँछन् । प्रहरी प्रशासनलाई खबर गर्छु भन्दा भएकै घरबार बिग्रिन्छ भनेर उनैले रोक्छिन् । हामीलाई पनि सकस छ ।” नजिकैकी साथीले १३ वर्ष नपुग्दै विवाह गरेपछि भोगेको समस्या सम्झिँदा पिपरा गाउँपालिका–३ महोत्तरीकी चाँदनी दासलाई पनि नमीठो लाग्छ । “मेरो छिमेकी साथीले न पढ्न पाइन् न रमाउन, सानै उमेरमा बच्चा भएपछि उनले आफ्ना सबै चाहनालाई दबाएर अपमानित जीवन बिताउनुपरेको छ”, चाँदनीले भनिन्, “सानै उमेरमा विवाह गर्नु त ठूलो दलदलमा पर्नु पो रहेछ । अहिले उनले पछुतो त मानिरहेकी छन् तर जिम्मेवारीको दलदलबाट उम्किने बाटो पनि त छैन ” श्रीरामनारायण अयोध्या उच्च मावि महोत्तरीबाट कक्षा १२ को पढाइ सकेकी अञ्जली दास त झन्डै सानै उमेरमा विवाहको दलदलमा फसिसकेकी थिइन् । “बुबाआमाको दबाब र छरछिमेकको कुरा सुनेको भए मेरो जिन्दगी पनि तबाह हुन्थ्यो होला तर मैले मानिन । अहिले मेरो पढाइ देखेर र अरूका दुःखद कहानी सुनेर बुबाआमा पनि ठूलो दुर्घटनाबाट जोगिए छ भनेर खुसी हुनुहुन्छ”, अञ्जलीले सुनाइन्। सप्तरीको खडक नगरपालिका–६ कि सिमानी चौधरीले देखिरहेको घटना त झनै विदारक छ । “मसँगै कक्षा ८ मा पढिरहेकी साथीले लहलहैमा बिहे गरिन् । अहिले उनको एउटा बच्चा भइसक्यो अर्को बच्चा पेटमा छ । सुरुमा त बच्चा बोकेरै स्कुल गइन् तर अर्को बच्चा पेटमा आएपछि कसरी जानु १ अहिले ‘बालविवाह, जिन्दगी तबाह’ भनेर दुःखेसो गरिबसेकी छन्”, सिमानीले स्मरण गरिन्। “कोही लहलहैमा त कोही अभिभावकको करकापमा विवाह गर्छन् । अभिभावकमा जिम्मेवारीबाट पन्छिन, सानैमा कन्यादान गर्दा पुण्य कमाइन्छ भन्ने मानसिकता र बालबालिकामा पनि एक दिन बिहे गर्नै त छ त्यसैले आजै गरिदिऊँ भन्ने मानसिकता छ”, खडक नगरपालिकास्तरीय बाल सञ्जालकी अध्यक्ष मञ्जुला साहले भनिन्, “यी दुवै मानसिकता नै बालबालिकाको भविष्य निर्माणका लागि बाधक छन् । त्यसैले ‘पहले करु शिक्षा दान, तब करु कन्यादान’ भनेर सन्देश फैलाउन सबै लाग्नुपर्छ ।” सर्लाहीको मिर्चैयाकी लालमती यादवलाई विवाह गरेपछि पढ्न नपाउने मात्रै होइन दाइजोका नाममा जिउँदै आगो लगाउने गरी समाजमा भइरहेका घटनाले झस्काउने गरेको छ । “मैले पनि अरूको लहलहैमा लागेर विवाह गर्ने सोच बनाएकी थिएँ तर सुझबुझ नहुँदा, लोभलालचमा परेर गरिने विवाहले तनाव दिने र ज्यानै लिने रहेछ । त्यसैले अब आफ्नो पढ्ने र आत्मनिर्भर बन्ने सपना पूरा भएपछि मात्रै सोचेर बिहे गर्छु”, उनको भनाइ छ । प्रदेश बालिका सञ्जालकी अध्यक्ष अजमेरी खातुनले अहिले किशोरावस्था (बालिका) पार गरिसकेकी छन्। उनले सानै उमेरमा विवाह हुँदा आइपर्ने समस्याका बारेमा जानकारी दिँदै अरू किशोरीहरूलाई उमेर नपुग्दै विवाह नगर्न सुझाइरहेकी छन् । “मधेस प्रदेशमा उमेर नपुग्दै हुने विवाह र त्यसबाट हुने समस्याका बारेमा जानकारी पाएपछि मैले आफू मात्रै होइन अरूलाई पनि सचेतना जगाउन थालेकी छु । एक दिन विवाह गर्नु त छँदैछ तर बुझ्ने भएपछि गर्दा पनि त हुन्छ नि ! यही सोचेर बालविवाह निषेधीकरणका लागि काम गरिरहेका छौँ”, खातुनले भनिन्, “यो अभियानमा लाग्दा बालविवाहका कारण भोगेका थुप्रै समस्याबारे थाहा पाएकी छु । १८—२० वर्षको उमेर त आफ्नो भविष्य बनाउने समय हो । बालविवाहले शारीरिक, मानसिक, बौद्धिक विकासमा अवरोध सिर्जना गरी अर्काको सहाराबिना बाँच्नै नसक्ने अवस्था बन्छ । त्यसैले उमेर पुगेपछि मात्रै विवाह गर्न म सबैलाई आग्रह गर्दछु ।” मधेसमा बालविवाहको अवस्था विसं २०७८ को जनगणनाअनुसार नेपालमा करिब ३० प्रतिशत बालबालिकाको विवाह २० वर्ष उमेर नपुग्दै भइरहेको छ । देशका सात प्रदेशमध्ये बालविवाहको समस्या सबैभन्दा बढी मधेसमा छ । सोही जनगणनाअनुसार मधेसमा सबैभन्दा बढी अर्थात् ३७ दशमलव तीन प्रतिशतले औसतमा १८ वर्षअगावै विवाह गर्छन् । त्यसमध्ये ५२ दशमलव दुई प्रतिशत बालिका र १९ प्रतिशत बालकहरू छन् । जबकि राष्ट्रियरूपमा उमेर नपुग्दै विवाह गर्ने २९ दशमलव सात प्रतिशतमध्ये बालिकाको हिस्सा ४१ दशमलव एक र बालकको हिस्सा १५ दशमलव चार प्रतिशत रहेको छ । त्यति मात्रै होइन बहुआयामिक सूचक क्लष्टर सर्भे २०१९ अनुसार मधेसमा कूल जनसङ्ख्याको आठ दशमलव नौ प्रतिशत बालबालिकाले १५ वर्ष नपुग्दै विवाह गर्छन् । यसमा पनि बालकको प्रतिशत दुई दशमलव एक छ भने बालिकाको १४ दशमलव दुई प्रतिशत छ । सोही अध्ययनअनुसार १८ वर्षअगावै विवाह गर्ने २९ दशमलव तीन प्रतिशतमध्ये ४६ प्रतिशत बालिका र सात दशमलव आठ प्रतिशत बालक रहेका छन् । राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कले नै २०–२४ वर्ष उमेर समूहका विवाहित जनसङ्ख्यामध्ये राष्ट्रियरूपमा २९ प्रतिशतको विवाह १८ वर्षअगाडि नै भएको देखाएको छ । मधेसमा भने यो सङ्ख्या ३५ प्रतिशत छ । देशभर यो उमेर समूहका १६ प्रतिशत पुरुष र ३५ प्रतिशत महिलाले १८ वर्षअगावै विवाह गर्ने गरेकामा मधेसमा भने यो प्रतिशत पुरुषको १७ र महिलाको ४२ छ । कानूनी व्यवस्था र मधेस प्रदेशको पहल नेपालकोे संविधानको धारा ३९९५० मा कुनै पनि बालबालिकालाई बालविवाह, गैरकानूनी ओसारपसार र अपहरण गर्न वा बन्धक राख्न पाइने छैन भनी बालविवाहलाई रोक लगाएको छ । साथै मुलुकी अपराध, फौजदारी तथा कसुर सजाय ऐन, २०७४ मा बालविवाह गर्ने र गराउनेलाई तीन वर्ष जेल र ३० हजार जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । सोही ऐनमा बालविवाहलाई विवाहसम्बन्धी कसुर मानेको छ र बालविवाह स्वतः बदर हुने उल्लेख छ । बालबालिकासम्बन्धी ऐन, २०७५ ले बालबालिकाको विवाह तय गर्ने वा बालबालिकासँग विवाह गर्ने वा गराउने कार्यलाई बालबालिकाविरुद्धको हिंसा मानेर ९दफा ६६० रु ७५ हजारसम्म जरिवाना र तीन वर्षसम्म कैद सजाय हुने व्यवस्था (दफा ७२) गरेको छ । तर पनि देशमा बालविवाह भइरहेकै छ । मधेसमा त यो समस्या झनै विकराल छ । त्यसैले मधेस प्रदेश सरकारले सन् २०३० सम्म प्रदेशलाई बालविवाह मुक्त बनाउन १० वर्षीय प्रादेशिक रणनीतिक योजना–२०७८ ल्याएको छ । त्यसैगरी, प्रदेश बालअधिकार ऐन–२०७७, सारभूत लैङ्गिक समानता नीति–२०७८, बाल सहभागितासम्बन्धी कार्यविधि–२०७८ र ‘बेटी बचाऊ, बेटी पढाऊ’ अभियानमार्फत बालविवाह न्यूनीकरण, कुपोषणमुक्त प्रदेश बनाउने र दलित शिक्षा अभियानअन्तर्गत बालिकालाई अनुदान दिने नीति अख्तियार गरेको छ भने बालिका संरक्षण विधेयक प्रस्तावित अवस्थामा रहेको मुख्यमन्त्री सरोजकुमार यादवको भनाइ छ । प्रदेशका एक सय ३६ स्थानीय तहमध्ये हाल सिरहाको सुरुङ्गा नगरपालिका मात्रै बालविवाह मुक्त घोषणा गरिएको छ । सो नगरपालिकाका प्रमुख गीता चौधरी बालविवाह अन्त्यका लागि सबै सरोकारवालाले निर्ममतापूर्वक हस्तक्षेप गर्न र बालबालिकाले आफ्नो पढाइ र परिपक्व भएपछि मात्रै विवाह गर्ने सङ्कल्प लिनुपर्ने बताउँछन्। महिला बालबालिका युवा तथा खेलकुद मन्त्रालयको आयोजना तथा लाइफ नेपाललगायतका सङ्घसंस्थाको सहयोग तथा समन्वयमा आइतबार र सोमबार जनकपुरधाममा भएको दुईदिने मधेस बालिका सम्मेलन–२०८० मा सहभागी बालिका तथा किशोरीहरूले पनि बालविवाह रोक्न सबैले सहयोग गर्नुपर्ने बताएका छन् । मधेस बालिका सम्मेलनको दोस्रो संस्करणका रूपमा आयोजना गरिएको यस सम्मेलनमा मुख्यमन्त्री यादवले अब वैशाख १७ लाई बालविवाहविरुद्धको दिवसका रूपमा मनाउने घोषणा गरेका छन्।र
महावीर पुन र सरकारबीच ७ बुँदे सहमति काठमाडौं । विभिन्न माग राखेर आन्दोलनमा उत्रिएको राष्ट्रिय आविष्कार केन्द्र र सरकारबीच ७ बुँदे सहमति भएको छ । गत शुक्रबारदेखि माइतीघर मण्डलामा धर्ना दिएर आन्दोलनमा उत्रिएका केन्द्रका अध्यक्ष महावीर पुन र उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सोमबार ७ बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । यी हुन् ७ बुँदे सहमतिको पूर्णपाठ : प्रधानमन्त्रीज्यूलाई सम्बोधन गरी राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष श्री महावीर पुनले दिनुभएको ज्ञापनपत्रमा उल्लिखित मागहरुमा माननीय उप–प्रधानमन्त्री तथा रक्षा, कानून, न्याय तथा संसदीय मामिला मन्त्रीज्यूसँग भएको छलफल बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको निर्देशनमा निम्नलिखित विषयमा आज मिति २०८० वैशाख १८ गते यो सहमति भएको छ । १. अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कारसम्बन्धी कार्यहरू एकीकृत रूपमा संचालन गर्न नेपाल सरकारले एउटा कोष स्थापना गर्ने र यस कोषबाट अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कारसम्बन्धी कार्यहरुमा लगानी गर्ने  । २. कोषको व्यवस्थापन तथा सञ्चालन गर्न सङ्घीय संसदको आउँदो अधिवेशनमा विधेयक पेस गरी पारित गर्ने । सो विधेयकको मस्यौदा सरोकारवालाको परामर्शमा आगामी ६० दिनभित्र तयार गर्ने । ३. आगामी आर्थिक वर्षदेखि सङ्घीय सरकारको पूँजीगत बजेटको एक प्रतिशत रकम अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कार कोषमा जम्मा गर्ने । ४. अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कारलाई प्रवर्द्धन गर्न आवश्यक नीतिगत, कानुनी एवं संस्थागत प्रबन्ध गर्ने । आविष्कारबाट उत्पादित वस्तु तथा सेवाहरूलाई आवश्यक पर्ने अनुमति, लाइसेन्स, दर्ता, संचालन तथा दिगोपन कायम गर्ने विषयसँग सम्बन्धित् कानुनमा सुधार गरी सहजीकरण गर्ने । ५. मागपत्रमा उल्लिखित अन्य विषयहरुलाई कानुन बनाउँदा ध्यान दिने  । ६. माथि उल्लिखित विषयहरुमा दुवै पक्ष बसेर समीक्षा गर्ने । ७. महावीर पुनको नेतृत्वमा भइरहेको धर्नालगायत सबै आन्दोलनका कार्यक्रम अहिले नै अन्त्य गर्ने ।
भिरबाट लडेर ५३ वर्षीय वृद्धको मृत्यु तनहुँ। जिल्लाको ऋषिङ गाउँपालिका–७ बाजगरा निवासी ५३ वर्षीय कृष्णकुमार थापाको भिरबाट लडेर मृत्यु भएको छ। घर नजिकै रहेको चण्डी भयर सामुदायिक वनको गोरेटो बाटोदेखि करिब सय मिटर तल खस्दा मृत्यु भएका उनी आइतबार दमौलीमा आँखासम्बन्धी उपचारपश्चात् घर फर्किएको परिवारले जनाएका छन्। भिरको रुखमा अड्किएको अवस्थामा शव फेला परेको भन्ने जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार विकको टोली र गण्डकी प्रदेश प्रहरी गण पोखराबाट खटिगएको संयुक्त टोलीले शवलाई भिरबाट बाहिर निकालेको थियोे। स्थानीयवासीको सहयोगमा साढे तीन घण्टाको प्रयासपश्चात् मृतक थापाको शवलाई सुरक्षित साथ भिरदेखि करिब दुई सय मिटर तल समथर भूभागबाट निकालिएको प्रहरीले जनाएको छ। घटनास्थलको मुचुल्काका साथै प्रारम्भिक अनुसन्धान गरी शव परीक्षणका लागि दमौली अस्पतालमा ल्याइएको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए।
आठ वर्षमा पनि पूरा भएन जोरपाटी-गोकर्ण-सुन्दरीजल सडक काठमाडौँ। जोरपाटी-गोकर्ण-सुन्दरीजल सडक विस्तार गरिएको आठ वर्ष वितिसक्दा पनि पूरा नहुँदा खाल्डाखुल्डीले सवारी सञ्चालनमा समस्या पर्दै आएको छ। खाल्डाखुल्डीमा बनेको पोखरीले यात्रु एवं स्थानीयवासीले दुःख पाएको गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता नारायणबहादुर सुवेदीले बताए। संघीय सरकारले ठेक्का आह्वान गरेको योजनामा निर्माण व्यवसायीले स्थानीय सरकारलाई नटेर्दा जीर्ण सडकमा समस्या हुने गरको उनको भनाइ थियो । अस्पतालजस्तो संवेदनशील स्थानअघिको सडकलाई ग्राभेल हालेर सहजरुपमा सवारी साधन हिँड्ने वातावरण बनाउन पटकपटक गरिएको अनुरोधसमेत नमान्दा धेरैले दुःख पाएका छन्। आर्थिक वर्ष २०७५/२०७६ मै सक्ने गरी विसं २०७२ मै ठेक्का भएको सात किमी सडक आठ वर्षदेखि अलपत्र छ। सुरुमा सडकको दायाँबायाँ घर भएका स्थानीयवासीले मुआब्जा नदिई काम अघि बढाउन नदिने भनी विरोध गरेपछि सडक विस्तार हुनसकेको थिएन। केन्द्रबिन्दुबाट दायाँबायाँ ११/११ मिटर गरी २२ मिटरको सडक बनाउन काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले गरेको बोलपत्र आह्वान गरेको थियो। सात किमीको दूरीमा पर्ने करिब नौ सय घरका धनीले ठेक्काअनुसार विस्तार गर्ने भए मुआब्जा दिनुपर्ने माग गरेकाले घर भएको स्थानमा केन्द्रबिन्दुबाट दायाँबायाँ सात/सात मिटर विस्तार गर्ने, सार्वजनिक जग्गा भएका स्थानमा भने ११/११ मिटर नै विस्तार गर्ने सहमति भएको थियो । गोकर्णेश्वर नगरपालिकाको नेतृत्वमा भएको सहमति वषौँ बित्दासमेत काम हुनसकेको छैन। यो सहमतिअनुसार पनि ठाउँ ठाउँमा काम रोकिँदा वर्षौँदेखि यात्रु पीडित छन्। धेरैजसो सडकको काम सकिए पनि केही ठाउँमा रोकिएको कामले वर्षा हुन थालेपछि हिलो सबैतिर पुग्ने गरेको छ। अत्तरखेल मूल सडकमा सटर भाडामा लिएर किराना पसल चलाउँदै आएकी सपना श्रेष्ठ वर्षामा हिलो र हिउँदमा धुलोले गर्दा स्वास्थ्यमा असर परेको गरेको गुनासो गरिन्। पानी परेपछि खाल्डो बनेको सडकको हिलो अन्यत्रसमेत पुग्ने गरेको र सुकेपछि त्यहाँको धुलोले समस्या हुने गरेको छ। नगरपालिकाले केन्द्रबिन्दुबाट दायाँबायाँ सात/सात मिटर विस्तार गर्ने सहमति भएको चार वर्षसम्म पनि सडक अलपत्र छ। समय बढाएर आर्थिक वर्ष २०७६/७७ मा सक्ने सहमति पनि कार्यान्वयन भएन। त्यसपछि पनि पटक–पटक समय थप गर्दा पनि काम सकिएको छैन। रु ५८ करोडको लागतमा भइरहेको काममा बेलाबखत समस्या आउने गरेकाले काममा ढिलाइ भएको सडक विस्तार आयोजनाका अधिकारीले बताउने गरेको नगरपालिकाले जनाएको छ। यस सम्बन्धमा प्रतिक्रियाका लागि सम्पर्क गर्दा आयोजनाका अधिकारी सम्पर्कमा आएनन्। केन्द्रीय सरकारको ठेक्का भएकाले स्थानीय सरकारलाई निर्माण व्यवसायीले अटेर गर्ने गरेका छन्। विसं २०७६ चैतमा सुरु भएको बन्दाबन्दीका क्रममा सडकमा पर्ने रुख हटाइए पनि कतिपय स्थानमा विद्युत्को पोल, तारलगायत संरचना अझै हटेको छैन। सडकको काम नसकिँदा यसवर्ष पनि वर्षाको बेला हिलो र हिउँदमा धुलोमा यात्रा गर्न बाध्य हुनुपर्ने अवस्था आएको स्थानीयवासी पार्वती तामाङले बताइन्। ग्राभेल हालेर डोजर र रोलरले सम्याए वर्षाको समयमा हिलो एवं धुलो नहुने गरी काम गराउन नगरपालिकाले दबाब दिँदै आएको जनाइएको छ। निर्माणको ठेक्का पाएको सिएम कन्स्ट्रक्सनले एक दिन काम गरेर महिना दिनसम्म केही नगर्ने गरेको देखिने गरेको स्थानीयवासीको गुनासो थियो। गोकर्णेश्वर महादेव मन्दिरअघिको सडकमा कालोपत्र भएको केही दिनमै भत्कियो। केही महिनापछि त्यो भत्किएको स्थानमा टालिए पनि काम राम्रो भएको छैन। कति ठाउँमा बीचमा कालोपत्र गरिए पनि दायाँबायाँ भने पर्खाल लगाएर सडक यत्तिकै छोडिएको छ। सडक बनेर कालोपत्र भएका स्थानमा पनि पैदलमार्ग निर्माण भएको छैन। पैदलमार्ग नहुँदा यात्रु सडक दुर्घटनामा पर्ने सम्भावना बढेको छ। यसतर्फ सरोकार भएका निकायका अधिकारीको ध्यान जान नसकेको स्थानीय शिक्षक अनन्त अर्यालले बताए। सडक विस्तार भएका चन्द्रमती, सूर्यमती, कोलमती, जम्बोत्तरीलगायत नदीमाथि अझै पुल विस्तार हुन नसक्दा सवारीसाधन जाममा पर्ने गरेका छन्।
तेह्रथुमको छथरमा उद्यमशीलता विकास तालिम काठमाडौँ। कोशी प्रदेश अन्तर्गतको तेह्रथुम जिल्लाको छथर गाउँपालिका स्थानीयलाई उद्यमशीलता विकास तालिम दिइएको छ। राष्ट्रिय युवा परिषद्, छथर गाउँपालिका र नबिल बैंकबिच भएको त्रिपक्षीय समझदारी अनुसार एक साता लामो तालिम प्रदान गरिएको नबिल बैंकले जनाएको छ। २०८० वैशाख १० गतेदेखि १६ गतेसम्म यो तालिम उपलब्ध गराइएको हो। स्थानीय युवा, महिला, विपन्न वर्ग तथा उद्यमी बन्न इच्छुक स्थानीय व्यक्तिहरूलाई साथ दिन यो तालिम सहयोगी हुने अपेक्षा राखिएको छ। उद्यमका लागि सक्षम बनाउन र उद्यम परियोजनाका आधारमा वित्तीय पहुँच पुर्‍याइ देश भित्रै उद्यम प्रवर्द्धन तथा रोजगारी सृजनाद्वारा दिगो आर्थिक विकासमा योगदान गर्ने लक्ष्यका साथ यो तालिम दिइएको हो। नबिल दिगो बैंकिङ अवधारणा अनुरूप सामाजिक उत्तरदायित्व बहन गर्दै नबिल बैंकले यस कार्यक्रममा आफ्नो आबद्धता जनाएको हो। उक्त कार्यक्रममा छथर गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, राष्ट्रिय युवा परिषद्का प्रशासकीय प्रमुख लगायत नबिल बैंकका तर्फबाट कोशी क्लष्टर प्रमुख तोपप्रसाद अगस्ती र छथर शाखा प्रमुख कृष्णकुमार साहको उपस्थिति रहेको थियो। उक्त ७ दिने तालिम कार्यक्रममा ५७ स्थानीय उद्यमीहरू सहभागी थिए। नबिल बैंकका एसएमई, लघुवित्त तथा दिगो बैंकिङ प्रमुख, निरज कुमार बस्नेत डनिलले उद्यमी बन्न चाहानेको लागि उद्यमशीलतामा क्षमता वृद्धि तथा वित्तीय साक्षरताको लागि यो तालिम सहयोगी हुनुका साथै उद्यमशीलता विकास र स्वरोजगार प्रवर्द्धनमा नबिल बैंकको सधैँ साथ रहने जानकारी गराए।
दुई सातादेखि बेपत्ता आमाछोरा अझै फेला परेनन् तनहुँ। दुई सातादेखि बेपत्ता भएका आमाछोरा अझै फेला परेका छैनन्। दुई सातादेखि बेपत्ता भएका ब्याँस नगरपालिका–१० बिपी भञ्ज्याङ्ग का २० वर्षीया राममाया विक र ४ वर्षीयाको छोरा लप्सन विक अझै फेला नपरेका हुन । राममायाको श्रीमान् लोकबहादुर विकले गत वैशाख ३ गते बिहान देखि  बेपत्ता भएको श्रीमती र छोरा खोजी गर्दा पनि फेला नपरेको बताए। श्रीमती र छोरा बेपत्ता भएको दुई साता नाघिसक्दा पनि फेला नपरे पछि  खोजीका लागि प्रहरी कार्यालयमा निवेदन दिएको उनले बताए। भारतको रोजगारीमा गर्दै आएका श्रीमान लोकबहादुर श्रीमती र छोरा बेपत्ता भएको खबर भएपछि नेपाल आएका थिए। आफन्तलगायत सबैतिर खोजी गर्दा पनि फेला नपरेपछि खोजी गरिदिन उनले अपिल गरेका छन्।
आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, बिभिन्न कार्यक्रम गरी मनाइँदै काठमाडौं। आज अन्तर्राष्ट्रिय श्रमिक दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ। ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित शुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउन थालिएको हो। श्रम सम्बन्धलाई व्यवस्थित गर्दै सन् १८८६ मा श्रमिकको पेशागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन प्रत्येक मजदुरको लागि ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ को नाराले सार्थकता पाएको सम्झनामा यो दिवस मनाउन थालिएको हो। आफ्ना सुविधाको समयानुकूल बढोत्तरी तथा आफ्ना अधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ। नेपालमा २००७ सालमा विराटनगरमा भएको मजदूर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो। मुलुकभर क्रियाशील ट्रेड युनियनको छाता संगठन संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको अगुवाइमा सबै मजदुर संगठनहरुले आज यो दिवस मनाउँछन्। मजदुरहरुले आन्दोलन गरिरहेको अवस्थामा सन् १८८६ मा अमेरिकाको सिकागोको हेय मार्केट भन्ने ठाउँमा अचानक बम विस्फोट भयो। सो बम विस्फोट कसले गराएको हो? भन्ने नखुले पनि प्रहरीले आन्दोलनरत मजदुरमाथि व्यापक दमन सुरु गर्‍यो। र, प्रहरीको सो दमनमा परी गोली लागि आन्दोलननरत सातजना मजदुरको पनि मृत्यु भयो। प्रहरी दमनले त्यो आन्दोलन रोकिएन, झन् झन् चर्किँदै गयो। अन्ततः सो आन्दोलन सफल भयो र त्यसपछि मजदुरलाई आठ घन्टा मात्रै काम गराउन थालियो। त्यसको चार वर्ष पछि सन् १८८९ मा फ्रान्सको राजधानी पेरिसमा विश्वका श्रम संगठन एवं श्रमिक नेताहरुको संयुक्त बैठक बस्यो। सो बैठकले बैठकले सोही दिनको सम्झनामा विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो। त्यस पछि सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन थालिएको हो। नेपालको विराटनगरमा विसं २००७ मा पहिलो मजदूर आन्दोलन भएको थियो। विसं २०४६ को राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसको अवसरमा सार्वजनिक बिदा दिन थालिएको हो।
आजको मौसम: देशका धेरैजसाे भू-भागमा पानी पर्ने संभावना काठमाडौं। हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागहरूमा आँशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली रहेको छ। दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ। पहाडी भू-भागका केही तथा तराईका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ। राति भने देशका पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू-भागमा आँशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। पहाडी भू-गका थोरै तथा तराईका एक(दुई स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन र चट्याङ, हावाहुरीबाट हुन सक्ने क्षति र जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
आयुर्वेदिक चिकिस्ता पद्धति मात्र नभएर जीवन दर्शन होः कार्यवाहक राष्ट्रपति यादव काठमाडौं। कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले आयुर्वेदिक चिकिस्ता पद्धति मात्र नभएर जीवन दर्शन रहेको बताएका छन् । आयुर्वेदा मेडिकल डेभलोपमेन्ट एण्ड रिसर्च फाउण्डेशनले काठमाडौँस्थित नाचघरमा आज आयोजित कार्यक्रममा उहाँले संस्कृति र दैनिकीसँग जोडिएको आयुर्वेद सबै चिकिस्ता विज्ञानको जननी रहेको बताए । “विश्वका करिब ८० प्रतिशत मानिसले परम्परागत वा वैकल्पिक चिकिस्ता प्रयोग गरिरहेका छन् । हाल आयुर्वेद अनुसन्धान, अध्ययन र अभ्याससँगै माग पनि बढिरहेको छ । यद्यपि स्वदेशमा आयुर्वेद क्षेत्रको विकास अपेक्षाकृत नभएको होकी भन्ने लाग्छ । तर युवाको सहभागिता देख्दा भविष्यप्रति आशावादी छु”, उनले भने, “आयुर्वेदमा भनिएको जस्तो हाम्रो दैनिकी भएमा यसले स्वास्थ्य बनाउनुका साथै दीर्घ जीवनसमेत दिन्छ । यसलाई हामीले आफ्नो जीवनको अभिन्न अङ्ग बनाउन सक्नुपर्छ ।” उनले आधुनिक चिकिस्ता महँगो र सबैको पहँुचमा नरहेको हुँदा रोग रोकथामको लागि आयुर्वेदमा उल्लेखित स्वास्थ्य जीवनशैलीका कुरालाई समुदायस्तरमा लैजान आग्रह गरे। कार्यक्रममा काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाहले आयुर्वेदमा कार्यरत चिकित्सकलाई सम्मान गर्न पाउँदा खुसी लागेको बताए । “नेपालमा विदेशी पर्यटक नै योग, आयुर्वेद र ध्यानको लागि आउने गरेको उदाहरण पनि छन् । त्यसैले हामीले यस क्षेत्रलाई प्रवद्र्धनमा अझै जोड दिनुपर्छ । यसको अध्ययन नै अन्य विद्या झै प्राथमिकतामा पार्नुपर्छ”, महानगर प्रमुख शाहले भने। फाउण्डेशनका अध्यक्ष डा विजेन्द्र शाहले आउँदो विविध कार्यक्रम गर्ने बताए । “हामीले आयुर्वेदामा जीवन समर्पण गर्नेलाई प्रोत्साहन मिलोस् भनेर यो कार्यक्रमको आयोजना गरेका हौँ । यो सम्मान काफी नहुन सक्छ तर सुरूआत हो । अन्य विविध क्षेत्रको अवार्ड भइरहदा सुरूवात गरेका हौँ”, अध्यक्ष डाक्टर शाहले भने । कार्यक्रममा विभिन्न चिकित्सकलाई सम्मान गर्नुका साथै नृत्य, शास्त्रीय सङ्गीत लगायत प्रस्तुती प्रस्तुत गरिएको थियो ।
देश बाहिर रहेका मतदातालाई मतदान प्रक्रियामा समावेश गर्न ध्यानाकर्षण काठमाडौं। अर्थमन्त्री प्रकाशशरण महतसमक्ष नेपाल मतदाता अधिकार मञ्चले जिल्ला बाहिर र देश बाहिर रहेका मतदातालाई मतदानको प्रक्रियामा समावेश गर्न माग गरेको छ । मञ्चका अध्यक्ष भक्त विश्वकर्मासहित आज सिंहदरबारमा भएको भेटमा लोकतान्त्रिक शासन व्यवस्थाको अभ्यास बालिग मताधिकारको जनअभिमतबाट मात्र हुने भएकाले जिल्ला बाहिर र देश बाहिर रहेका मतदातालाई मतदानको प्रक्रियामा समावेश गराउन उचित नीति, योजना र बजेटको व्यवस्था गर्न माग गरिएको हो । अर्थमन्त्री महतले सरकार यी विषयमा गम्भीर भएको र बजेट निर्माण गर्ने बेलामा त्यस विषयमा ध्यान दिने बताए । ध्यानाकर्षण पत्रमा आम मतदाताहरु विशेष गरेर सिमान्तकृत एवं बञ्चितीमा पारिएका मतदातामार्फत जन निर्वाचित निकाय एवं जनप्रतिनिधिहरुको जवाफदेहीता प्रवद्धन गर्न ‘जनाताका आँखामा विकास र बजेट’ भन्ने नीतिगत व्यवस्था अविलम्ब गर्न माग गरिएको हो । मञ्चका अध्यक्ष विश्वकर्माले आगामी नीति, योजना, बजेट र कार्यक्रम बनाउँदा उक्त विषयहरुलाई पनि समेटेर बनाउन आग्रह गर्नुभयो । नेपाली समाजमा कलङ्कको रुपमा रहेको छुवाछूत, जातीय विभेद र यसले सिर्जना गरेका तमाम असमानताको अन्त्य गर्न र जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐनको प्रभावकारी कार्र्यान्वयनको लागि यथेष्ट बजेटको व्यवस्था गर्नुपर्ने ध्यानाकर्षण पत्रमा छ । जातीय भेदभाव तथा छुवाछूतका पीडितलाई उचित क्षतिपूर्ति दिने र नेपाललाई छुवाछूत मुक्त राष्ट्र बनाउन राष्ट्रिय अभियान चलाउने नीति, कार्यक्रम र बजेटको व्यवस्था गर्नुपर्ने उल्लेख छ । महिला, दलित, अपाङ्गता भएका नागरिक, आदिवासी जनजाति, मधेशी, मुस्लिम, एकल महिला, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक आदिको आर्थिक तथा सामाजिक उत्थान र सशक्तीकरणका लागि समुदाय लक्षित कार्यक्रम ल्याउन माग गरिएको छ ।
तत्काल प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन बारको माग काठमाडौं। नेपाल बार एशोसियशनले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया तत्कालअघि बढाउनुपर्नेलगायतका माग राख्दै दबाबमूलक कार्यक्रम प्रारम्भ गरेको छ । बारको मागमा प्रधानन्यायाधीशको नियुक्ति अविलम्ब गर्नुपर्ने, सर्वोच्च अदालतलगायत सबै तहका अदालतमा रिक्त रहेका न्यायाधीश यथाशीघ्र नियुक्ति गर्नुपर्ने र पूर्ण स्वचालित पेशी व्यवस्थापन प्रणाली लागू गर्नुपर्ने माग गरेको छ । न्यायालयभित्रको भ्रष्टाचार, विकृति, विसङ्गति अन्त्य गर्नुपर्ने, संसदीय सुनुवाइ समिति गठन गर्नुपर्ने, संवैधानिक परिषद्को बैठक अविलम्ब बोलाउनुपर्ने र संवैधानिक दायित्व पूरा गर्न माग गर्दै दबाबमूलक कार्यक्रममा उत्रिएको हो । बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले प्रधानन्यायाधीश नियुक्तिलगायतका विभिन्न माग राखेर बारले दबाबमूलक कार्यक्रमकको घोषणा गरेको र उक्त माग पूरा नभएसम्म बार चुप लागेर नबस्ने बताए । राष्ट्रियसभामा पेस गरिएको मर्यादासम्बन्धी विधेयकप्रति बारको असहमति भएको र विधेयकमा प्रधानन्यायाधीशको मर्यादाक्रम चौथो स्थानबाट घटुवा गरी पाँचौं स्थानमा राखिनु गलत भएकाले तत्काल सच्याउन सरकारसँग उनले माग गरे । सरकारलाई दबाब दिनका आजदेखि बारले एक सातासम्म प्ले कार्ड लिएर प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ ।
इनार सफा गर्ने क्रममा एकजनाको मृत्यु मध्यविन्दु। नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–१४ बेल्डीहामा इनार सफा गर्ने क्रममा एकजनाको मृत्यु भएको छ । इनार सफा गर्ने क्रममा अचानक इनार भासिँदा गैँडाकोट १३ का ४४ वर्षका तुलसी थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)को सूचना अधिकारी सन्तोष पाठकले जानकारी दिए। स्थानीय चेतबहादुर भुसालको घरको इनार सफा गर्ने क्रममा इनार भासिएर दुर्घटना भएको उनले बताए । इनार सफा गर्ने क्रममा अचानक इनार भासिँदा थारु बेपत्ता भएका थिए। स्थानीय र प्रहरीसहितको टोलीले इनारभित्र थारुलाई साँझ मृत फेला पारेको सूचना अधिकारी पाठकले उल्लेख गरे ।
कीर्ते धनीपुर्जा बाँडेर सुकुम्वासीसँग लाखौँ असुली, दुई आरोपी पक्राउ झापा। जग्गाको नक्कली धनीपुर्जा दिएर मेचीनगर नगरपालिका–५ मेचीडाँडाका ६० परिवारसँग रकम असुली गरेको आरोपमा दुई व्यक्ति पक्राउ परेका छन् । आरोपीले पीडितसँग लाखौँ रकम असुलेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र रिजालका अनुसार जग्गाको नक्क्ली धनीपुर्जा बनाएर दिएको आरोप लागेका मेचीनगर–६ का ७५ वर्षीय भूपध्वज दाहाललाई प्रहरीले आज पक्राउ गरेको छ । अर्का आरोपी सोही वडाका ७३ वर्षीय ज्ञानबहादुर गिरी केही दिनअघि नै पक्राउ परेका थिए । वर्षौंदेखि ऐलानी जग्गामा बसोबास गर्दै आएका मेची डाँडाका सुकुम्वासी परिवारसँग जग्गाको धनीपुर्जा थिएन । धनीपुर्जा बनाएर घरमै ल्याइदिने भन्दै स्थानीय तीन जनाले रु १० हजारदेखि ७० हजारसम्म रकम असुली गरेको पीडितको भनाइ छ । आरोपीमध्ये फरार एक जनाको खोजी कार्य भइरहेको प्रहरीको भनाइ छ । छ महिनाअघि जग्गाधनीको फोटो टाँसिएको र रातो मसीले सही गरिएको सरकारी छापसहितको जग्गा धनीपुर्जा पाउँदा स्थानीय सुकुम्वासी दङ्ग थिए । तर, उनीहरूको यो खुसी लामो समय टिकेन । डेढ महिनाअघि केही जग्गाधनीले मेचीनगर–६ को वडा कार्यालयमा एकीकृत सम्पत्ति कर तिर्न जाँदा सो धनीपुर्जा नक्कली भएको खुलासा भएको थियो । वडामा जाँदा मात्रै सुकुम्वासीले धनीपुर्जाको नाममा ठगिएको पत्तो पाएका थिए । रकम असुलेर नक्कली धनीपुर्जा दिने व्यक्ति विरुद्ध पीडितले जिल्ला प्रशासन कार्यालय झापामा किटानी उजुरी दिएका छन् भने जिल्ला प्रशासनले घटनाको अनुसन्धान गर्न प्रहरी निकायलाई निर्देशन दिएको छ । ऐलानी तीन धुर जग्गामा बसोबास गर्दै आएकी मेचीनगर–६ की सरस्वती बरालले वडा कार्यालयमा तिरो बुझाउन जाँदा त्यहाँका कर्मचारीहरूले धनीपुर्जा नक्कली भएको जानकारी गराएको बताइन् । “गाउँकै भूपध्वज दाहाल र ज्ञानबहादुर गिरीले ‘रु ५० हजार दिनू, धनीपुर्जा बनाएर ल्याइदिन्छु’ भनेपछि रु ३५ हजार बुझाएको थिएँ”, ठगीको शिकार हुनुभएकी सरस्वती बरालले भनिन्, “वडामा तिरो बुझाउन जाँदा पो धनीपुर्जा नक्कली हो भनिदिए । मेरो पैसा पनि गयो, धनीपुर्जा पनि कीर्ते पर्‍यो ।” वडा कार्यालयका कर्मचारीले कम्युटरमा धनीपुर्जाको कित्ता नम्बर भिडाउँदा नभेटिएपछि पीडित बराल वडा कार्यालयमै केही बेर बेहोस भएकी थिइन् । सो बस्तीका ५९ जनाले वडा कार्यालयमा गएर धनीपुर्र्जाको कित्ता नम्बर भिडाउँदा नभेटिएपछि गाउँमा बाँडिएका सबै धनीपुर्र्जा कीर्ते भएको प्रमाणित भएको थियो । हाल सो गाउँका पीडितको रुवाबासी छ । कतिले चर्को ब्याजमा ऋण काढेर धनीपुर्जाका लागि रकम बुझाएका थिए । धनीपुर्जा बनाइदिन्छु भनेर रकम असुली गर्ने विरुद्ध पीडितले गत चैत १७ गते वडा कार्यालयमा उजुरी दिएका थिए । वडाले पीडितको रकम फिर्ता गराउनका लागि गरेको प्रयास असफल भएपछि जिल्ला प्रशासन कार्यालयलाई पीडितले गुहारेका हुन् । अब यो मुद्दा प्रशासनको न्यायिक कठघरामा पुगेको छ । गिरी र दाहालका परिवारले पीडितलाई आधा रकम फिर्ता गरिदिने भन्दै वैशाख १० गते गाउँमै छलफल चलाएर घटनालाई सामसुम पार्न खोजेका थिए । छलफलमा सहमति भएअनुसारको म्यादभित्र रकम फिर्ता भएन । पीडित अहिले न्याय खोज्दै जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय धाइरहेका छन् । सोही ठाउँकी अर्की पीडित मीना खनालले रु ६५ हजार दिएपछि आरोपीहरूले छ धुरको धनीपुर्जा बनाएर ल्याइदिएको बताए । रकम असुली र धनीपुर्जा लेनदेनमा वृद्ध व्यक्ति प्रत्यक्षरूपमा जोडिएता पनि कुनै ठूलो गिरोह यस धन्धामा संलग्न हुनसक्ने पीडितले आशङ्का गरेका छन् । नेकपा (एमाले) मेचीनगरले एक प्रेस विज्ञप्ति प्रकाशित गरी कीर्ते धनीपुर्र्जा बनाएर सुकुम्वासीसँग रकम असुलिएको घटनाको गहिरो छानबिन हुनुपर्ने माग गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी रिजालले ठगिएको भन्दै उजुरी दिन आउने पीडित बढिरहेको बताए। पक्राउ परेका आरोपीविरुद्ध कीर्ते जालसाझी मुद्दाअन्तर्गत कानूनी कारबाही हुने उनले बताए।
स्वदेश फर्किएपछि चन्द्र भण्डारीले भने- आगामी दिनमा कुनै नेपालीले आगोमा जल्न नपरोस् काठमाडौं। नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारी भारतको मुम्बईस्थित नेशनल वर्न सेन्टरमा उपचारपछि आज स्वदेश फर्किएका छन्। गत फागुन ३ गते बुद्धनगरस्थित आफ्नै निवासमा ग्यास लिक हुँदा आगालागीमा परी गम्भीर घाइते भएका भण्डारी भारतको मुम्बईमा अढाइ महिना उपचार गरेर आज साँझ नेपाल वायुसेवा निगमको विमानमार्फत स्वदेश फर्किएका हुन्। स्वदेश फर्केसँगै डा भण्डारीले एक विज्ञप्ति जारी गरी आफ्नो उपचारमा सघाउने र स्वास्थ्य लाभ गर्ने सबैलाई धन्यवाद दिएका छन् । डा भण्डारीले पछिल्लो समय नेपालमा आगलागीको घटनाबाट वर्षेनी सयाँै व्यक्तिले अकालमा ज्यान गुमाउनु परेको बताउँदै यस्ता घटनालाई कम गर्न आफूले निरन्तर पैरवी गर्ने बताए। “राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हरेक वर्ष २०७९ सालमा आगलागीको घटनाबाट एक सय १० जनाले ज्यान गुमाउँदा मेरो आमाको ज्यान गुमेकाले अब त्यस्ता घटना हुन नदिन दक्ष जनशक्तिसहित सुविधा सम्पन्न अस्पताल निर्माणमा सरकारले ध्यान दिनुपर्छ, कमसेकम प्रत्येक प्रदेशमा एक÷एकवटा वर्न अस्पताल निर्माण गर्नुपर्छ”, डा भण्डारीले भनेका छन्। सांसद भण्डारीले ‘आगामी दिनमा कुनै नेपालीले आगोमा जल्न नपरोस्, आगालागीमा परेको कुनै नेपालीले मर्न नपरोस्’ आफ्नो आगामी अभियान हुने बताए । उनले खाना पकाउने ग्यासलगायत हुने आगलागीका घटनाबाट हुने जनधनको क्षतिलाई कम गर्न जनचेतनामूलक अभियान तथा अभ्यासलाई तीव्रता दिनुपर्र्ने बताए। आगामी दिनमा आगलागीबाट हुने घटना कम गर्न नीति निर्माणका तहमा वा अन्य कुनै पनि ढङ्गले योगदान गर्न सके आफ्नो आमाप्रति सच्चा श्रद्धाञ्जली हुने उनको भनाइ छ । गत मङ्सिर ४ को प्रतिनिधिसभा निर्वाचनमा गुल्मी क्षेत्र नं १ बाट निर्वाचित डा भण्डारी र उनकी आमा हरिकला भण्डारी आगलागीको घटनामा परी गम्भीर घाइते भएकी थिइन् । आमा हरिकलाको भने उपचारका क्रममा गत फागुन ४ गते निधन भएको थियो भने डा भण्डारीलाई सोही दिन नै थप उपचारका लागि भारत लगिएको थियो ।
रोल्पामा जीप दुर्घटना, एक विद्यार्थीको मृत्यु रोल्पा। रोल्पामा जीप दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा गङ्गादेव गाउँपालिका–२ ओइलाम निवासी १५ वर्षीय तिलक वली रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी उपरीक्षक श्याम सारुमगरले जानकारी दिए । तुलसीपुरदेखि रोल्पाको गङ्गादेव गाउँपालिका–६ ताप्लातर्फ आउँदै गरेको लु १ ज ४७५५ नम्बरको डबल क्याप जीप आज बेलुकी १६ः३० बजेको समयमा रोल्पाको गङ्गादेव गाउँपालिका–२ हेलुमखोलास्थित दुर्घटना भएको प्रहरीले जनाएको छ । जीप ओरालो कच्ची बाटोमा अचानक बे्रक फेल र स्टेरिङले काम नगरी सडकबाट करिब तीन सय मिटर तल खसी दुर्घटना भएको प्रहरी प्रमुख सारुमगरले बताए। जीपमा सवार चालकसहित १० जनामध्ये नौ घाइते भएका छन् । घाइतेलाई तत्काल उद्धार गरी स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि थप उपचारका लागि दाङतर्फ पठाइएको प्रहरीले बताएको छ ।
उपचारपछि स्वदेश फर्किए कांग्रेस सांसद भण्डारी काठमाडौं। नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारी आज उपचारपछि स्वदेश फर्किएका छन्। गत फागुन ३ गते बुद्धनगरस्थित आफ्नै निवासमा ग्यास चुहावट हुँदा आगालागीमा परी घाइते भएका नेता भण्डारी भारतको मुम्बईमा साढे दुई महिना उपचारपछि आज स्वदेश फर्किएका हुन्। गत मङ्सिर ४ को प्रतिनिधिसभा निर्वाचनमा गुल्मी क्षेत्र नं १ बाट निर्वाचित डा भण्डारी भारतको मुम्बईस्थित नेशनल वर्न सेन्टरमा उपचाररत थिए । कांग्रेस नेता माधव न्यौपानेका अनुसार डा भण्डारीको स्वास्थ्यमा क्रमिकरूपमा सुधार आएको छ । पछिल्लो समयमा उनी बोल्ने र हिँड्नेसमेत गरेका छन् । सो आगलागीमा परी सांसद भण्डारीकी आमा हरिकलाको भने उपचारका क्रममा गत फागुन ४ गते निधन भएको थियो ।
जुवा खेलेर ऋण लागेपछि लुटपाट गर्न थाले, प्रतिकार गरेपछि पसलकै चक्कुले घोचेर नीराको हत्या काठमाडौं। काठमाडौंको कपनस्थित सरस्वती नगरमा वैशाख ७ गते भाँडा व्यवसायी ३५ वर्षकी नीरा पाण्डे आचार्यको लुटपाटका लागि हत्या भएको पाइएको छ। प्रहरीले लामो अनुसन्धान गरी घटना भएको ११औँ दिनमा आज त्यसको कारणबारे जानकारी गराउँदै लुटपाट गर्ने उद्देश्यले हत्या भएको पाइएको जनाएको छ । यद्यपि थप छानबिना अन्य कारण खुल्न सक्ने प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले जनाएको छ । उनको हत्या गरेको आरोपमा शनिबार झापामा पक्राउ परेका विनोद विकलाई प्रहरीको केन्द्रीय अनु्सन्धान ब्यूरोले आज सार्वजनिक पनि गरेको छ । उनी झापा मेचीनगर नगरपालिका–१० घर भइ भक्तपुर नगरपालिका–१ लोकन्थली डेरा गरी बस्दै आएका थिए । उनले आफूले नै हत्या गरेको बयान दिएको सिआइवीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले जानकारी दिए । उनका अनुसार लुटपाटका क्रममा उनले प्रतिकार गरेपछि भाँडा पसलमै भएको चक्कुले शरीरका विभिन्न ठाउँमा घोचेर हत्या गरेका थिए । नीरा एक दशक अघिदेखि काठमाडौँ महानगरपालिका–६ सरस्वती नगरस्थित निरू किचेन एण्ड गिफ्ट स्वभिनर सञ्चालन गर्दै आएकी थिइन्। प्रहरीले दिएको जानकारीअनुसार सुरुमा आरोपी विक क्यासिनोमा काम गर्ने गरेको र पछि काठमाडौँमा बाउन्सरको रुपमा जागिर गरेका थिए । जुवा खेल्ने क्रममा ऋण लागेपछि उनी लुटपाटमा संलग्न भएको र त्यही क्रममा नीराको पसलमा पुगेका थिए । घटना घटाएर झण्डै एक हप्ता उनी भक्तपुरको लोकन्थलीमा लुकेर बसेका र त्यसपछि झापा गएका पनि प्रहरीले जनाएको छ । उनले घटना घटाएर निराको सुनको सिक्री र काउन्टरमा भएको पैसा लिएर गएका थिए । त्यो सिक्री काठमाडौँको तारकेश्वरस्थित पाथिभरा सुनचाँदी पसलमा धरौटी छाडेर ५५ हजार पैसा लिएर गएको पनि खुलेको छ । हत्याका बेला लगाएको कपडा, जुत्ता तथा झोलासमेत प्रहरीले बरामद गरेको छ । उक्त हत्याको अनुसन्धानमा सुरुमा जिल्ला प्रहरी परिसर र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अनुसन्धान गरेको थियो । तर त्यो अनुसन्धान निष्कर्षमा पुग्न नसकेपछि सिआइवीका प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यको नेतृत्वमा उच्चस्तरको समिति गठन गरिएको थियो । समितिमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख र जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुखसमेत सहभागि थिए । हत्याको दिन पसलमा सामान किन्न भनेर उनी पसलमा पसेका थिए । कुरा गर्न खोज्दा अरु मान्छे पनि आएपछि एटिएमबाट पैसा भिकेर आउँछु भनेर निस्किएका सिआइवीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापा बताउँछन् । दोस्रो पटक एक्लै भएको मौका पारेर उनले घटना घटाएका थिए । वैशाख ७ गते अपराह्न पसलमा बसिरहेका बेला ३५ वर्षीया नीरा पाण्डे आचार्यको चक्कुले शरीरका विभिन्न अङ्गमा प्रहार गरी हत्या गरिएको थियो । गम्भीर अवस्थामा फेला परेकी उनलाई उपचारका लागि शिक्षण अस्पतालमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । बागलुङ घर भएकी उनी त्यहाँ भाडामा भाँडा पसल गर्दै आएकी थिइन्। केही मिनेटको दुरीमा रहेको उनको कोठाको तल्लो सटरमा श्रीमान्को इलेक्ट्रिोनिक्स पसल समेत रहेको छ । त्यसदिन महिला पसलमै एक्लै रहेकी थिइन्। भाँडा पसलको पछाडि काउन्टर थियो । प्राय पसलमा ग्राहक नआएका बेला उनी त्यतै बस्थिन् । त्यही बेला उनीमाथि आक्रमण भएको थियो । पछाडि भएकाले वरपर घटनाबारे थाहा हुन सकेन । सिसी क्यामरा नभएकाले प्रहरीलाई अनुसन्धान गर्न समेत हम्मेहम्मे परेको थियो । पछि वरपरका सिसी क्यामरा हेरेर अध्ययन गरिएको थियो । घटना पछि एक जना महिला भाँडा किनेको उधारो तिर्न आएकी थिइन्। पसलमा उनी थिइनन्। त्यसपछि नीराको श्रीमानलाई फोन गरेर कोही छैन दोकानमा भनिन्। श्रीमानले पछाडी काउन्टर छ, त्यतै तिर होलिन् भित्र गएर हेर्नु न भनेर जवाफ दिएका थिए । भित्र काउन्टर नजिक गएर हेर्दा उनी रक्ताम्मे भएर ढलिरहेकी दखेपछि उनले नै प्रहरीमा खबर गरेकी थिइन् । घटना भएको केही घण्टा अघि उनले लामखुट्टे नियन्त्रण गर्ने व्याटको सामाजिक सञ्जालमा प्रचार गरेको पाइएकाले घटनामा पारिवारिक कारण नभएको प्रहरीले यसअघि नै निष्कर्ष निकालेको थियो । यसअघि घटनाका दोषीलाई पत्ता लगाई कारबाही गर्न नसकेको भन्दै स्थानीयले घटनास्थलमा प्रदर्शनसमेत गरेका थिए ।
१० लाख ३० हजार हेक्टर कृषियोग्य जमिन बाँझो छः मन्त्री भुसाल काठमाडौं। कृषि तथा पशुपन्क्षी विकासमन्त्री डा बेदुराम भुसालले १० लाख ३० हजार हेक्टर कृषियोग्य जमिन बाँझो रहेको बताएका छन्। अखिल नेपाल किसान महासङ्घले ७३औँ स्थापना दिवसमा मन्त्री भुसालले उत्पादन वृद्धि गर्नका लागि बाँझो जमिनमा खेतीपातिको व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याए। त्यसका लागि सरकारले सम्बन्धित कृषकलाई सहुलियत उपलब्ध गराउने नीति तथा कार्यक्रम ल्याउने उनले जानकारी दिए। कृषि क्षेत्र अर्थतन्त्रको मेरुदण्ड भएको बताउँदै मन्त्री भुसालले भने, “यो क्षेत्रमा व्याप्त समस्याका कारण कृषि अपहेलित छ ।” कूल ५१ अर्बको बजेटमध्ये ३१ अर्ब मलमा, १२ अर्ब स्थानीय र प्रदेशमा तथा आठ अर्ब कर्मचारीको तलबमा खर्च हुने गरेको जानकारी दिँदै उनले किसानलाई सहयोग गरी यस क्षेत्रको विकास गर्न थप बजेट व्यवस्थापन गर्नुपर्ने बताए। मन्त्री भुसालले किसानमाथि हुने शोषण अन्त्य गर्न अखिल नेपाल किसान सङ्घको स्थापना गरिएको भन्दै उनीहरुलाई मल, बीउ विजन, सिँचाइ, बजारीकरण, यान्त्रिकरण तथा पूर्वाधारको विकास गर्नुपर्ने बताए। खाद्य संप्रभुताको नियामावली बनाउन सरकार क्रियाशील रहेको जानकारी दिँदै उनले त्यसलाई अगाडि बढाउन कानुन र अर्थ मन्त्रालयसँग समन्वय भइरहेको बताए। किसान आन्दोलनका नेता भैरव रेग्मीले किसान अधिकार सुनिश्चित गर्न आफूहरुले राखेको ६२ सुत्रीय माग पूरा गर्नुपर्नेमा जोड दिँदै किसानलाई सम्पन्न बनाउन राजनीतिक दलसँग आबद्ध किसान एकीकृत रुपमा अगाडि बढनुपर्ने विचार व्यक्त गरे। महासङ्घका अध्यक्ष बलराम बाँस्कोटाले देशको विकास र जनताको समृद्धिका लागि कृषि क्षेत्रको विकास गर्नुपर्ने विचार व्यक्त गर्दै सरकारले यो क्षेत्रलाई विशेष प्राथमिकतामा राख्नुपर्ने बताए।
सडक निर्माणका लागि थुपारेको गिट्टीमा मानिसको टाउको भेटियो बैतडी। बैतडीको पाटनमा सडक निर्माणका लागि ल्याइएको गिट्टीमा मान्छेको टाउको भेटिएको छ। पाटन नगरपालिका–६ स्थित पाटन तल्लो बजारमा सडक निर्माणका लागि ल्याइएको गिट्टीमा आज दिउँसो मान्छेको टाउको भेटिएको हो। गिट्टीको थुप्रोबाट कुकुरले टाउको लग्दै गरेको अवस्थामा फेला परेको हो। सो ठाउँमा टाउकोमा कपालसमेत रहेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक कमलप्रसाद चौधरीले जानकारी दिए। टाउको भेटिएको स्थानलाई प्रहरीले सुरक्षित राखेको छ। “टाउको भेट्टिएको भएपनि महिलाको हो कि पुरुषको हो कि भन्ने चिन्न नसकिने अवस्थामा रहेको छ”, प्रहरी निरीक्षक चौधरीले भने। गिट्टी कुन ठाउँबाट ल्याइएको हो भन्ने खुल्न नसकेको र थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ।
महिनावारी सुकेको ५ वर्षपछि नर्भिक आइभिएफमा ५२ वर्षे महिलाले जन्माइन् जुम्ल्याहा काठमाडौं। महिनावारी सुकेको ५ वर्षपछि काठमाडौंकी एक महिला आइभिएफ प्रविधिबाट जुम्ल्याह सन्तान जन्माउन सफल भएकी छिन्। थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलअन्तर्गतको नर्भिक आइभिएफ सेन्टरमा उपचार गराइरहेकी ५२ वर्षीया ती महिलाले आइभिएफ प्रविधिमार्फत एकसाथ दुई सन्तानलाई जन्म दिएकी हुन्। बढ्दो उमेर समूहमा जोखिम बढी हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै गर्भाअवस्थादेखि नै उच्च निगरानीमा राखेर उपचार गरिएको थियो। शल्यक्रियामार्फत जन्मिएका दुवै जना सन्तान र आमाको अवस्था राम्रो रहेको नर्भिककी वरिष्ठ टेष्टट्यूव बेबी विशेषज्ञ डा. नूतन शर्माले बताइन्। सामान्यतः बढ्दो उमेर समूहका महिलामा गर्भाधारण गर्ने र सन्तान जन्माउन सक्ने अवस्थालाई जटिल रुपमा हेर्ने गरिन्छ। डा. शर्माकाअनुसार ती महिलाको महिनावारी समेत सुकिसके र पाठेघरमा समेत मासु पलाएको थियो, जसको दुरबिनबाट गरिने शल्यक्रियामार्फत पाठेघरको मासु झिकेर आइभिएफ प्रविधिबाट उपचार गरिएको थियो। यसअघि पनि ५५ बर्षे महिलाले नर्भिकमै आइभिएफ प्रविधिमार्फत सन्तान प्राप्त गरेकी थिइन्। सामान्यतः नेपालको सन्दर्भमा सन्तान जन्माउनका लागि ३० बर्षको उमेर समूहलाई उत्तम मानिने गरिए पनि विभिन्न कारण बढी उमेर समूह भएका महिलाले सन्तानको रहर गरे उमेरलाई मात्र बाधक मान्न नसकिने नर्भिक अस्पतालले जनाएको छ। अस्पतालका विज्ञहरुकाअनुसार पछिल्लो ६ महिनामा नर्भिकमा आइभिएफ गरेकामध्ये गर्भाधारण गर्न सफल ६१ जना महिला ४६ देखि ५५ वर्ष उमेर समूहका रहेका छन्। त्यसैले सन्तान प्राप्तिको चाहनामा उमेरलाई मात्र बाधक मान्न आवश्यक छैन।
विद्युत् प्राधिकरणका कर्मचारीलाई लाग्यो चुनाव काठमाडौं। देशकै सबैभन्दा ठूलो सार्वजनिक संस्थान नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई यतिबेला चुनाव लागेको छ । आधिकारिक टे«ड युनियन चयनका लागि हुन लागेको निर्वाचनका लागि संस्थानमा क्रियाशील ट्रेड युनियन नेतृत्व लिनका लागि प्रचारप्रसारमा केन्द्रित छन् । यही वैशाख २८ गते हुने निर्वाचनका लागि चार वटा ट्रेड युनियनका अगुवा प्राधिकरणको देशभर रहेका कार्यालय पुगी मत माग्न लागिपरेका छन् । प्राधिकरणमा क्रियाशील ट्रेड युनियनमध्येबाट आधिकारिता प्राप्त गरेपछि दुई वर्षका लागि निर्वाचन हुन लागेको हो । प्राधिकरणको आधिकारिक ट्रेड युनियन निर्वाचन–२०८० निर्वाचनका लागि देशभरका आठ हजार पाँच सय बढी कर्मचारीले मतदान गर्नेछन् । जनताको आवश्यकता पूरा गर्न तथा रोजगारी सिर्जना गर्न र देशको आर्थिक समृद्धिका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको प्राधिकरणको गतिविधिलाई थप प्रभावकारी तुल्याउनका लागि आधिकारिक ट्रेड युनियनको निर्वाचन हुँदै आएको छ । शतप्रतिशत नेपाल सरकारको स्वामित्व रहेको प्राधिकरणले हरेक नागरिकको घरमा उज्यालो मात्रै पुर्‍याएको छैन, देशको समृद्धिमा योगदानसमेत गर्दै आएको छ । राष्ट्रिय कर्मचारी युनियनका वरिष्ठ उपाध्यक्ष माधव अधिकारीले संस्थाको गर्विलो इतिहासलाई अझ उजिल्याउने कार्यमा योगदान पुर्‍याउने उद्देश्यका साथ आफूहरु निर्वाचनमा होमिएको बताए । आधिकारिक ट्रेड युनियनको निर्वाचन २०७६ सालमा भएको थियो । त्यो बेलाको निर्वाचन राष्ट्रिय कर्मचारी युनियनले जितेको थियो । प्रत्येक दुई वर्षमा हुनुपर्ने निर्वाचन कोभिड–१९ महामारी र आम निर्वाचनका कारणपछि सरेको थियो । निर्वाचित ट्रेड युनियनको प्रतिनिधि प्राधिकरणको सर्वोच्च कार्यकारी निकाय सञ्चालक समितिमा आमन्त्रित सदस्यका रुपमा रहन पाउने कानुनी व्यवस्था छ । राष्ट्रिय कर्मचारी युनियनले आधिकारिता प्राप्त गरेसँगै कर्मचारीको सेवा सुविधा बृद्धि गर्नेमात्र नभइ संस्थाको समृद्धिको योजना पेश गर्ने र आम ग्राहकहरूले पनि गुणस्तरीय सेवा सुनिश्चितताका लागि काम गरेको वरिष्ठ उपाध्यक्ष अधिकारीले बताए। उनले भने, “सहज सेवा, स्वच्छ विचार जस्ता कार्यक्रम सञ्चालन गरेर हरेक कार्यालयमा एकद्वार प्रणाली लागू गरेका छौँ । ग्राहकलाई खानेपानी, फोटोकपी र टेलिभिजनको व्यवस्था कायम गरियो । कार्यालय सफा र स्वच्छ राख्ने एवं प्रतिक्षालय राख्नेजस्ता महत्वपूर्ण रचनात्मक कार्य गरेका छौँ ।” प्राधिकरणले नेपाल सरकारबाट पाउनुपर्ने विभिन्न रकम नपाएको अवस्थामा खबरदारी गरेर त्यस्ता रकम उपलब्ध गराउन राष्ट्रिय कर्मचारी युनियनले गरेको उनको भनाइ छ । चुहावट नियन्त्रण, डिजिटल कार्यक्रमजस्ता महत्वपूर्ण कार्यक्रम लागू गर्न आधिकारिक टे«ड युनियनले पहल गरेको, कर्मचारीका हकहित, सेवासुविधाका लागि निरन्तर आवाज उठाउन इमान्दारीपूर्वक काम गरेकै कारण आगामी दिनमा पनि राष्ट्रिय कर्मचारी युनियन नै निर्वाचित हुने उनले विश्वास विश्वास गरे । त्यसैगरी कर्मचारी सङ्घका अध्यक्ष जनार्दन भट्टराईले संस्थाको स्थायित्व र कर्मचारीको सेवासुविधाका विकासको एजेण्डा लिएर आधिकारिक ट्रेड युनियनको निर्वाचनमा आफूहरु लागेको बताए । उनले प्राधिकरणको सर्वोपरी हित र कर्मचारीको वृत्तिविकासका लागि केन्द्रित रहेको उल्लेख गरे । विद्युत् प्राधिकरणमा स्थायी, अस्थायी र ज्यालादारी गरेर झण्डै १२ हजार कर्मचारी छन् । यद्यपि प्राधिकरणको स्थायी ११ हजार दरबन्दी छ । निर्वाचनमा एक तहदेखि नौ तहसम्मका कर्मचारीले मतदान गर्न पाउँछन् । कार्यालय प्रमुख, बजेट केन्द्र प्रमुख र १० तहदेखिका कर्मचारीले मत दिन भने पाउँदैनन् । प्राधिकरणमा कर्मचारी कल्याण परिषद् कर्मचारी सङ्घ, राष्ट्रिय कर्मचारी युनियन र कर्मचारी युनियन क्रियाशील छन् ।
निरा पाण्डेका हत्या आरोपी विनोद विश्वकर्मा सार्वजनिक काठमाडौं। काठमाडौं कपनस्थित सरस्वतीनगरकी निरा पाण्डे आचार्यको हत्या आरोपमा पक्राउ परेका झापाका विनोद विश्वकर्मालाई सार्वजनिक गरिएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आइतबार दिउँसो पत्रकार सम्मेलन गरेर  पाण्डेको हत्यामा संग्लन भएको दाबी गर्दै आरोपी झापा मेचीनगर–१० घर भई हाल भक्तपुरका लोकन्थलीमा बस्ने ३५ वर्षीय विनोद विश्वकर्मालाई सार्वजनिक गरेको हो । पाण्डेको हत्यामा विश्वकर्मा एक्लैको संलग्ना रहेको सीआईबीका एसएसपी दिनेश आचार्यले जानकारी दिए । उनका अनुसार पाण्डेको पसलमा पुगेर विश्वकर्माले केही भाँडा रोजिसकेपछि पैसा लिएर आउँछु भनेर बाहिरिएका र पछि पुनः आएको हत्या गरेका हुन् । आरोपी विश्वकर्माले पसलमै रहेको चक्कुले प्रहार गरेर पाण्डेको हत्या गरेका प्रहरीको भनाइ छ । पाण्डेले लगाएको सुनको सिक्री चोरी गर्ने क्रममा उनले हत्या गरेका हुन् । हत्यापछि पाण्डेको सिक्री र ड्रयरमा रहेका १२ सय रुपैयाँ लिएर गएका विश्वकर्माले उक्त बेचेको भेटिएको प्रहरीले जनाएको छ । सो सिक्री पनि फेला पारिसकेको प्रहरीको भनाइ छ । आफूहरुसँगको बयानमा विश्वकर्माले अपराध स्वीकार गरिसकेका एसएसपी आचार्यले जानकारी जानकारी दिए । पसलमै रहेका बेला ७ वैशाखमा पाण्डेको धारिलो हत्यार प्रहार गरी हत्या भएको थियो ।
डाक्टरको घरमा नर्स मृत फेला काठमाडौं। डाक्टरको घरमा नर्स मृत अवस्थामा फेला परेकी छिन्। काठमाडौंको बोहराटारस्थित डाक्टर सुजन ढकालको घरमा वीर अस्पतालमा कार्यरत स्टाफ नर्स अमुना श्रेष्ठ मृत फेला परेकी हुन्। काठमाडौ प्रहरी परिसरका प्रवक्ता एसपी सिताराम रिजालका अनुसार उनी झुण्डिएको अवस्थामा फेला परेकी थिइन्। ढकाल भने कान्तिबाल अस्पतालमा काम गर्दै आएका थिए। उनीहरूबीच प्रेम सम्बन्ध रहेको र सम्बन्ध बिग्रिएपछि अनुमाले पासो लगाएको प्रहरीको झण्डिएको प्रहरीले आशंका गरेको भएपनि सो सम्बन्धमा भने केही बताएको छैन। झुण्डिएको स्थानमा सुसाइड नोट पनि फेला परेको भएपनि प्रहरीले त्यसबारे पनि केही बताएको छैन । प्रहरीका अनुसार वालाजु वृत्तले सो घट्नाबारे अनुसन्धान गरिरहेको छ।
दण्डहीनताविरुद्ध शान्ति समाजले देशव्यापी अभियान चलाउने काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले छ सुत्रीय धारणासहित कुशासन र दण्डहीनताविरुद्ध २०८० जेठ १ गतेदेखि देशव्यापी रुपमा तेस्रो चरणको अभियान प्रारम्भ गर्ने भएको छ । विसं २०८० वैशाख अन्तिम सातासम्म पनि शान्ति समाजले अघि सारेका छ वटा विषयमा ठोस् प्रगति नभए तेस्रो चरणको अभियान जेठ १ गतेदेखि प्रारम्भ हुनेछ । त्यसक्रममा काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा चरणवद्ध रुपमा प्रदर्शन, कोणसभा, दर्जनौँ जिल्लामा जिल्ला प्रशासन कार्यालय अगाडि एक घण्टा शान्तिपूर्ण धर्ना लगायतका कार्यक्रम आयोजना हुनेछ । कार्यक्रममा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीलगायत नागरिक अगुवाले सम्बोधन गर्ने सभापति रामकृष्ण बरालले जानकारी दिए। आन्दोलनका क्रममा शान्ति समाजले अघि सारेका छ वटा विषयमा कुशासन र दण्डहीनता नै लोकतन्त्रको ठूलो शत्रु भएकाले सुशासनको प्रत्याभूति, आर्थिक पारदर्शीता र जबाफदेहिता सुनिश्चित हुनुपर्ने माग मुख्य बुँदाका रुपमा अघि सारिएको छ । विगतमा भएका दर्जनौँ ठूला घोटालाको प्रभावकारी अनुसन्धान गरी दोषिमाथि कानुनी कारबाही गर्नुपर्ने, नीतिगत भ्रष्टाचार गर्ने जुनसुकै राजनीतिज्ञलाई उन्मुक्ति दिन नहुने माग पनि समाजले अघि सारेको छ । सङ्क्रमणकालीन न्यायसम्बन्धी संसद्मा प्रस्तुत संशोधन विधेयक मानव अधिकार मैत्री हुनुपर्ने र पीडितलाई न्याय एवं पीडकलाई सजाय सुनिश्चित गरिनुपर्ने आवाज समाजले उठाउँदै आएको उनले बताए। माओवादीको हिंसात्मक जनयुद्ध सुरु भएको दिन फागुन १ गतेलाई “जनयुद्ध दिवस” भनी बिदा दिने घोषणासहितको आपत्तिजनक सरकारी निर्णय शीघ्र खारेज गरी २०८० सालको बिदा सूचीबाट तत्काल हटाउनुपर्ने माग पनि समाजले अघि सारेको सभापति बरालले बताए । ह्रासोन्मुख अर्थतन्त्र, चरम आर्थिक सङ्कटको आशङ्का एवं महङ्गीका कारण नागरिक आहत भएका बेला राज्यकोषको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता एवं तीव्र आपत्ति व्यक्त गर्दै, विस्तृत शान्ति सम्झौताको मर्म अनुरुप सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा नपु¥याउञ्जेलसम्म राज्यकोषमा भार पर्नेगरी उपलब्ध गराइने कुनै पनि प्रकारको सहयोग बन्द गर्नुपर्ने मागलाई पनि समाजले अघि सारेको छ । अनमिनद्वारा अयोग्य घोषित चार हजार आठजना पूर्व माओवादी लडाकु ९दुई हजार नौ सय ७३ जना अठार वर्ष मुनिका र २०६३ जेठमा युद्धविरामपछि माओवादीद्वारा भर्ति गरिएका १०३५० प्रत्येकलाई रु दुई लाखका दरले सहयोग उपलब्ध गराउने (८० करोड १६ लाख) सरकारी निर्णय तत्काल खारेज गर्नुपर्ने माग पनि समाजले सरकारले राखेको छ । सर्वोच्च अदालतमा रिक्त प्रधानन्यायधीश र पाँचजना न्यायधीश एवं उच्च अदालत तथा जिल्ला अदालतमा रिक्त दर्जनौँ न्यायधीश विधिसम्मत ढङ्गले शीघ्र नियुक्त गर्नुपर्ने भनी समाजले माग गर्दै आएको छ । न्यायपालिकालाई धम्क्याउने र राजनीतिकरण गर्ने कार्य बन्द गर्नुपर्ने, राजनीतिक पृष्ठभूमिका व्यक्तिलाई न्यायधीश नियुक्त गर्ने कार्य अन्त्य हुनुपर्छ, भन्ने माग पनि समाजको छ । दण्डहीनताको अन्त्यका लागि अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधानलाई नेपालले तत्काल अनुमोदन गर्नुपर्छ भन्ने बुँदालाई पनि समाजले लामो समयदेखि उठाउँदै आएको छ । यसै सिलसिलामा शान्ति समाजको आयोजनामा “लोकतन्त्रको १७ वर्ष ः सङ्क्रमणकालीन न्याय अलपत्र” शीर्षकमा चैत १७ गते २६ जिल्लामा र “राष्ट्रिय उत्सव ः लोकतन्त्र दिवस कि जनयुद्ध दिवस ?” शीर्षकमा वैशाख ११ गते २९ जिल्लामा कार्यक्रम सम्पन्न भइसकेको समाजले जनाएको छ ।
जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ चितवन। भरतपुरमा जुवातास खेलिरहेको अवस्थामा आठ जनालाई प्रहरीले पक्राउ गरेको छ। भरतपुर महानगरपालिका-१० रेडक्रस चोक बस्ने राम बहादुर गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा गुरुङसहित ८ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७९ हजार ८ सय ३० रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
महावीर पुनको आन्दोलनमा राप्रपाको ऐक्यबद्धता, लिङ्देनसहितका नेता माइतीघरमा (फोटो फिचर) काठमाडौं। राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले गत शुक्रबारदेखि विभिन्न माग राखेर आन्दोलन जारी राखेका छन्। कुल बजेटको २ प्रतिशत अनुसन्धानमा खर्च गर्नुपर्ने, नवउद्यमीहरुलाई हतोत्साह गर्न नहुने,जस्ता माग राखेर पुनले शुक्रबार माइतीघर मण्डलामा धर्ना दिइरहेका छन्। उनको आन्दोलनलाई विभिन्न पेसा व्यवसायमा संलग्नदेखि राजनीतिज्ञहरुले पनि साथ दिइरहेका छन्। आइतबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेता माइतघर मण्डलामा पुगेर पुनको आन्दोलनप्रति ऐक्यबद्धता जनाएका हुन्। शनिबार पनि राप्रपाकै डा. प्रकाशचन्द्र लोहनी, रवि मिश्र माइतीघर पुगेर पुनको आन्दोलनप्रति ऐक्यबद्धता जनाएका थिए।
निरा पाण्डेको हत्या आरोपीलाई झापाबाट काठमाडौं ल्याइयो, आजै सार्वजनिक गरिने काठमाडौं। निरा पाण्डेको हत्या आरोपमा पक्राउ परेका विनोद विश्वकर्मालाई झापाबाट काठमाडौं ल्याइएको छ । काठमाडौंको कपनस्थित सरस्वतीनगरमा ७ वैशाखमा भएको पाण्डेको हत्या आरोपमा शनिबा झापामा पक्राउ परेका   विश्वकर्मालाई आइतबार काठमाडौं ल्याइएको हो । उनलाई आजै आइतबार नै सार्वजनिक गर्ने तयारी प्रहरीको छ । लुटपाटको उद्देश्यले हत्या भएको प्रारम्भिक निष्कर्ष निकालेको प्रहरीले पाण्डेले लगाएको सुनको सिक्री पनि बरामद गरेको जनाएको छ । उक्त सिक्री बानेश्वरको एक पसलबाट भेटिएको र प्रारम्भिक बयानमा आरोपी विश्वकर्माले पनि हत्या स्वीकारेको प्रहरीको भनाइ छ ।
प्रतिकूल मौसमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान प्रभावित काठमाडौं । प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान प्रभावित भएको छ । भिजिबिलिटी कमजोर हुँदा विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय उडान सामान्यरुपमा प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार प्रतिकूल मौसमले भिजिबिलिटी कमजोर हुँदा अन्तर्राष्ट्रिय र आन्तरिकतर्फका विभिन्न गन्तव्यको उडान समयमै हुन सकेका छैनन् भने अन्तर्राष्ट्रियतर्फका केही जहाज आकाशमा फन्को(होल्ड) लगाइरहेका छन् । कोलम्बोबाट काठमाडौँ आएको श्रीलङ्कन एयरलाइन्सको जहाज आधा घण्टादेखि आकाशमा होल्डमा छ । यस्तै मलेसियाको क्वालालम्पुरबाट आएको बाटिक एयरको जहाज पनि अहिले सिमरामाथिको आकाशमा होल्ड भएको छ । आन्तरिकतर्फ केही जहाजको उडान ढिला भएको विमानस्थलले जनाएको छ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। वर्षाकै कारण शनिबार दिउँसोदेखि राति अबेरसम्म हवाई उडान प्रभावित भएको थियो । अहिले देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा साथै कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक÷दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ । काठमाडौँको आकाशमा आज बिहानैदेखि आंशिक बदली रहेको छ । अहिले उपत्यकाका केही क्षेत्रमा मेघगर्जनसहित वर्षा भइरहेको छ ।
वन्यजन्तुको आक्रमणबाट नौ महिनामा नौको मृत्यु चितवन। चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा वन्यजन्तुको आक्रमणबाट नौ जनाको मृत्यु भएको छ। चितवन राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयको क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट उनीहरूको मृत्यु भएको हो। जसमा ६ जनाको निकुञ्ज क्षेत्रमा र तीन जनाको डिभिजन वन क्षेत्र मृत्यु भएको हो। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्ज क्षेत्रमा एक जना बाघको आक्रमणबाट, दुई जना गैँडाको आक्रमणबाट, तीन जना हात्तीको आक्रमणबाट मृत्यु भएको छ। अन्य चार जनाको डिभिजन वन कार्यालय चितवन, डिभिजन वन कार्यालय नवलपुर, डिभिजन वन कार्यालय मकवानपुरका क्षेत्रमा जनावरको आक्रमणबाट मृत्यु भएको हो। डिभिजन वन क्षेत्रमा बँदेल, गैँडा, बाघलगायतका जनावरको आक्रमणबाट मृत्यु भएको उनले बताए। यस्तै चालु आवमा गम्भीर घाइते १२ जना, सामान्य घाइते १५ जना भएको उनले जानकारी दिए। उनका अनुसार पशुधन क्षति एक सय २३ वटा, भण्डारण गरिएको अन्नको क्षति छपटक, घरगोठमा क्षति १७ वटा, अन्नबालीमा क्षति दुई सय ४० पटक भएको छ। निकुञ्जले चालु आवमा क्षतिको राहतस्वरुप रु एक करोड ५० लाख ७१ हजार एक सय ११ रकम बुझाएको उनले बताए।
चट्याङमा परी पाँचथरमा ५४ भेडा मारिए पाँचथर। फालेलुङमा चट्याङमा परी  ५४ वटा भेडा मारिएका छन्। पाँचथरको फालेलुङ गाउँपालिका–३ स्थित एउटै खोरमा रहेका ५४ वटा भेडा मरेका छन् भने एकजना गोठालो भने घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार चट्याङ पर्दा भेडा फर्ममा नै रहेका याङबरक–३ निवासी प्रेम राई भने सख्त घाइते भएका छन्। शरीरको दाहिने पाटो नचल्ने र बोल्न नसक्ने अवस्थामा फेला पारेका उनलाई उपचारका लागि फालेलुङ स्वास्थ्य चौकी पठाइएको थियो। जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमूख हरि खतिवडाका अनुसार सो चट्याङका कारण भेडा फर्मका मालिकलाई झन्डै १६ लाख बराबरको क्षति हुन पुगेको छ।
चट्याङ लागेकी महिलाको उपचारको क्रममा मृत्यु ओखलढुंगा। चट्याङ लागेर गम्भिर घाइते भई उपचाररथ महिलाको मृत्यु भएको छ। शनिबार अपराह्न चट्याङमा परी घाइते भएकी खिजीदेम्बा गाउँपालिका–२ तोपडाँडाकी ५७ वर्षीय देवमाया बुढाथोकीको उपचारको क्रममा आज मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका अनुसार बुढाथोकीलाई उपचारका लागि रामेछापको मन्थली लैजाने क्रममा आज बिहान मृत्यु भएको हो। उनलाई हिजो घरमा नै बसिरहेको अवस्थामा चट्याङ परेको थियो।
बिहानै सिन्धुलीमा कार दुर्घटना, दुईको मृत्यु सिन्धुली। सिन्धुलीमा आज  बिहान कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। आइतबार बिहान बा ८ च ५१३५ नम्बरको कार दुर्घटना परी घाइते भएका एक जनाको सिन्धुली अस्पतालमा उपचार भईरहेको छ। सिन्धुली प्रहरीका प्रवक्ता तथा डिएसपी चिरञ्जीवी दाहालका अनुसार विपि राजमार्ग अन्तरगत कमलामाई नगरपालिका– २ पिपलभन्ञ्याङमा सो कार २० मिटर तल खस्न पुगेको थियो। सो दुर्घटना पछि एक महिला र एक पुरुषको घटनास्थलमा नै मृत्यु भएको हो। यसरी मृत्यु हुनेमा काभ्रे पनौतिका शिवशरण होछिमर र काठमाडौं गौरिघाटका सहारा प्रसाई रहेका छन्।
वर्षाले निर्थुक्क रूझेकाे राजधानी (फाेटाे फिचर) काठमाडाैं। काठमाडौं उपत्यकामा शनिबार अपराह्नपछि मध्यम वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यकामा ३१ मिलीमिटर वर्षा मापन गरिएको जनाएको छ। काठमाडौंमा भारी वर्षासँगै सिंहदरबार वरिपरि न्यूप्लाजा, पुतलीसडक, जमललगायत क्षेत्रको सडक जलमग्न भएका छन्। निरन्तरको वर्षाले सवारी आवागमनमा समेत केही व्यावधान भयो भने गन्तव्यमा पुग्ने सर्वसाधरणले सास्ती व्यहोर्नुपरेको छ। आइतबार देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा हावाहुरीको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।
आजको मौसमः देशका अधिकांश भागमा मेघगर्जनसहित वर्षाकाे संभावना काठमाडौं। हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली रहेको छ। दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ। पहाडी भू-भागका केही तथा तराईका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ। राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहने छ। पहाडी भू-भागका केही तथा तराईका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन र चट्याङ, हावाहुरीबाट हुन सक्ने क्षति र जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
मिनेन्द्र रिजालद्वारा बाल अस्पताललाई रु ५० लाख सहयोग दमक। दमकमा हालैमात्र सञ्चालनमा आएको किओच दमक बाल अस्पताललाई नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री डा मिनेन्द्र रिजालले रु ५० लाख प्रदान गरेका छन्। आफ्ना मातापिताको स्मृतिमा स्थापना गरेको पुण्यश्री फाउन्डेसनमार्फत उनले बाल अस्पतालका परिकल्पनाकार एवं संस्थापकसमेत रहेका काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थका अध्यक्ष डा भगवान् कोइरालालाई चेक प्रदान गरे। रतुवामाई नगरपालिकाका प्रमुख नागेन्द्रप्रसाद सिंह र दमक नगरपालिकाका कार्यवाहक प्रमुख भीमप्रसाद पौडेलको रोहवरमा भएको कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका डा रिजालले बाल अस्पताललाई सहयोग पुर्‍याउन आफूले स्वेच्छिक सहयोग पुर्‍याएको बताए। उनले समाजका लागि दिने योगदानले भावी सन्ततिको भविष्य उज्यालो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले त्यसअघि अस्पतालको स्थलगत निरीक्षणसमेत गरेका थिए। सो अवसरमा अस्पताल सञ्चालन पक्ष र पुण्यश्री फाउन्डेसनबीच सीमान्तकृत एवं विपन्न समुदायका बालबालिकाको स्वास्थ्योपचार सेवासम्बन्धी सम्झौतामा हस्ताक्षरसमेत भएको छ। कार्यक्रममा डा कोइरालाले बाल मृत्युदर घटाउने सरकारको अभियानमा सहयोग पुर्‍याउनकै लागि देशका सातवटै प्रदेशमा कम्तीमा एक–एकवटा यस किसिमका बाल विशिष्टिकृत अस्पताल सञ्चालनको अवधारणा ल्याइएको बताए। नेपाल रेडक्रस सोसाइटी दमक उपशाखासँगको सहयोगमा दमकमा सञ्चालन आएको सो अस्पतालमा बालबालिकाका सबै रोगहरूको उपचार गर्ने विशिष्ट किसिमको अस्पतालका रूपमा यसले सेवा पुर्‍याउँदै आएको छ।
पूर्वप्रधानन्यायाधीश श्रेष्ठको ‘जिन्दगीका तरेली’ गीति एल्वम लोकार्पण काठमाडौं। पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको ‘जिन्दगीका तरेली’ नामक गीति एल्वम लोकापर्ण गरिएको छ । उनका पिता कुलबहादुर श्रेष्ठ र माता लक्ष्मीदेवी श्रेष्ठले आज यहाँ आयोजित समारोहमा उक्त एल्वम सार्वजनिक गरेका हुन्। उक्त एल्वममा तिमी अर्कै भयौँ, म सिँढी चढ्दै जान्छु, कर र करार होइन माया, के जिउनु खै जिन्दगी, देउराली भाक्नुपर्ने, के भेट भयो यस्तो र हिमाल हेरेर बोलका जीवन, प्रेम, आत्यात्मिक र देश दर्शनसँग सम्बन्धित सातवटा गीत समेटिएको छ । पूर्वप्रधानन्यायाधीद्वारा रचित गीतमा गायक आनन्द कार्की, रामकृष्ण ढकाल, सत्यराज आचार्य, स्वरुपराज आचार्य, शिशिर योगी, सुमित खड्का र मिलन नेवारको स्वर र शक्ति बल्लभको सङ्गीत रहेको छ । सो अवसरमा प्रमुख अतिथि एवं गीतकार श्रेष्ठका पिता कुलबहादुरले मानिस भएर जन्मिएपछि देशको सेवा र अरुको सम्मान गर्नुपर्छ भन्ने बुद्धि र विवेक सबैमा रहन जरुरी रहेको बताए । वरिष्ठ गीतकार यादव खरेलले गीत भनेको शब्द, सङ्गीत र गायनको संयोजन भएकाले त्रिवेणीमा जोडिएपछि कलकल बगेको नदीको पानीझैँ हुनुपर्छ भने । उनले भने, “गीत–सङ्गीतले प्रदान गर्ने मिलन, विछोड र हाँसोका कुरा आम स्रोता र दर्शकले अपनत्व महसुस गर्नुपर्छ, त्यसो भएमा सिर्जनाले निरन्तरता पाउँछ ।” प्रा डा कृष्णहरि बरालले नेपाली गीत–सङ्गीत र साहित्यिक विधामा पूर्वप्रधानन्यायाधीश श्रेष्ठ शक्तिशाली लेखक र लेखनमा निरन्तता भएको श्रष्टाकारूपमा स्थपित हुने विश्वास व्यक्त गरे। वरिष्ठ सङ्गीतकार शक्ति बल्लभले नेपालको गीत सङ्गीतका सागरमा प्रवेश गरेएकामा पूर्वप्रधानन्यायाधीशलाई स्वागत गर्दै उनका गीतमा सिर्जनामा विविधतामात्र नभई नेपाली शब्द भण्डारलाई बलियो बनाएको बताए । गीतकार श्रेष्ठले गीत–सङ्गीतको नयाँ यात्रामा प्रवेश गरेकाले सिर्जनाका बारेमा आउने प्रतिक्रिया र सुझावलाई पूर्णरूपले सम्मान गर्ने बताए । उनले भने, “सङ्गीतको पवित्र धुनले वातावरण सुधार्न योगदान पुर्‍याउँछ, हामीले गरेका कर्मले समाजमा सिर्जनशीलता र आशाको सन्देश प्रवाह गर्नुपर्छ भन्ने लाग्छ ।” कार्यक्रममा सहभागी अन्य वक्ताहरूले उहाँका गीतले राष्ट्रियताप्रति इमान्दार हुन खबरदारी गरेको प्रतिक्रिया दिए।
काठमाडौंसहित देशका अधिकांश स्थानमा वर्षा, राति पनि पर्ने काठमाडौं। स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले राजधानी काठमाडौँ उपत्यकासहित देशका आधिकांश स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद् गोविन्दकुमार झाका अनुसार काठमाडौँमा विगत दुई घण्टादेखि मेघगर्जनरचट्याङसहित हल्का वर्षा भइरहेको छ। अहिले कोशी, बागमती, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भेगमा हल्का वर्षा भइरहेको छ। पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले आज र भोलि बदलीसँगै वर्षा गराउने उनले बताए। रातिको समयमा पनि देशका पहाडी क्षेत्रमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
‘अयोग्य लडाकु’लाई दुई लाख दिने निर्णय कार्यान्वयन नभए प्रतिरोधमा उत्रने चेतावनी काठमाडौं। बहिर्गमित जनमुक्ति सेना नेपालले अयोग्य लडाकुलाई दुई लाख दिने निर्णय कार्यान्वयन नभए प्रतिरोधमा उत्रने चेतावनी दिएको छ। शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बहिर्गमित जनमुक्ति सेना नेपाल, केन्द्रीय संघर्ष समितिले लामो कानुनी लडाइँपछि दुई लाख दिने निर्णय कार्यान्वयन हुन लागेकाले निर्णय कार्यान्वयन नभए प्रतिरोधमा उत्रने चेतावनी दिएको हो। पत्रकार सम्मेलनमा माओवादी अयोग्य लडाकुका नेता राजन थापा (सुवास)ले आफूहरुलाई २ लाख दिने सरकारी निर्णयको नबुझीकन विरोध भइरहेको र केहि दलले राजनीतिकरण गर्न खाजेको आरोप लगाए। उनले यसअघि अर्थमन्त्री भएका व्यक्तिले नै अहिले यस बिषयमा विरोध गरेको जिकिर गरे। थापाले शान्तिप्रक्रियालाइ टुङ्गोमा लगाउन सबै दलहरु गम्भीर हुनुपर्ने बताए। उनले केपी शर्मा ओली प्रधानमन्त्री र विष्णु पौडेल अर्थमन्त्री भएका बेला नै २०७३–७४ को बजेटमा समेत २०६६ सालमा सातवटा शिविरबाट बिदाइ लडाकुलाई राहत दिने उल्लेख गरिएको बताए।
महावीर पुनको आन्दोलनमा समर्थन जनाउन रवि लामिछाने माइतिघर मण्डलामा काठमाडौं। राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको जारी आन्दोलनमा समर्थन जनाउन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने माईतीघर मण्डला पुगेका छन्। शुक्रबारदेखि ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सामाजिक आन्दोलन’ नामबाट आन्दोलनमा उत्रेका पुनको आन्दोलनमा समर्थन जनाउन लामिछाने माइतीघर मण्डला पुगेका हुन्। हिजो रातभर माइतीघर मण्डलामा सुतेर पुनले प्रदर्शन गरेका थिए। ‘आफ्नो जायज माग पुरा गर्न राज्यले सोच्नु पर्ने कुरालाई सम्बोधन गर्नका लागि सडकमा आएर आन्दोलन गर्नुपरेको छ, यो देशको एउटा सांसदको हिसाबले दुःखी छु, तपाईको काम हामीले गर्नुपर्ने थियो, बेलैमा ठिक समयमा गर्न नसकेकोमा क्षमा चाहान्छु, हाम्रोतर्फवाट गर्नुपर्ने काम हामी गर्नेछौं,’ नवनिर्वाचित सांसद लामिछानेले भने। आफनो माग सम्बोधन नभएसम्मका लागि माइतीघर मण्डलामा नै रहने पुनले जनाउँदै आएका छन्। हिजो रातभर उनी माइतीघर मण्डलाको सडकमा सुतेका थिए। ‘लु, हामी चाहिँ माइतीघर मण्डलाको सडकमा रात भर सुतेर उठ्यौँ, जनताहरु सुति रहनुहोस् र नेपाल सरकारलाइ मज्जाले सुत्न दिइ रहनु होस्,’ पुनले शनिबार बिहान भने, ‘के त होला र? केही चिन्ता छैन, हद्दै भए यहि नेपाल ता जाला, पृथ्वी ता रहि रहन्छ नि,’ बिहानै पुनले भनेका थिए। अविष्कार केन्द्रका प्रमुख पुनले ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोष’ को कार्य अघि बढाउनु पर्ने तथा अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्ने नेपालीका लागि प्रत्येक वर्ष संघीय र प्रदेश सरकारले कम्तिमा १ प्रतिशत रकम छुट्याउनुपर्ने लगायतका माग राखेर उनी आन्दोलनमा उत्रेका हुन्। गत २०७६ सालमा ल्याएको विज्ञान, प्रविधि तथा नवप्रवर्तन नीतिमा पनि कोष स्थापना गर्ने परिकल्पना गरिएको तथा त्यसमा १ अर्ब रुपैयाँ राखेर नवप्रवर्तन कोष सञ्चालन गरिने भनिए पनि सो बारेमा सरकारले कुनै काम कारबाही अघि नबढाएपछि आक्रोशित पुनः आन्दोलनमा होम्मिएका हुन्। ‘अनुसन्धान, नबप्रबर्तन र आविष्कारसँग तपाईको सन्तानको, तपाईको भाबी सन्ततिको र मातृभूमीको भविष्य जोडिएको छ,’ आन्दोलनमा जानु अघि उनले भनेका थिए, ‘बैशाख १५ गते शुक्रबार देखि माग पुरा नहुँदा सम्म माइतीघर मण्डला र बबरमहल क्षेत्रबाट नेपाल सरकारलाई घुँडा टेकाउने गरि आन्दोलन गर्न सम्पूर्ण नेपालीहरुलाई आह्वान गर्दछु।’
अष्ट्रेलिया पठाइदिन्छु भन्दै ३० लाख ठगी गरेको अभियोगमा युवती पक्राउ काठमाडौं। अष्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जना पक्राउ गरेको छ। पक्राउपर्नेमा सुनसरीको धरान उपमहानगरपालिका–१३ घर भई हाल काठमाडौँ महानगरपालिका–१ लाजिम्पाट बस्ने २५ वर्षीया सयना श्रेष्ठ रहेकी छन्। सयनासमेतले वैदेशिक रोजगारीका लागि अष्ट्रेलिया पठाइ प्रतिष्ठित कम्पनीमा रु तीन लाखभन्दा बढी तलब हुने काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी रु ३० लाख लिई ठगी गरेको उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई लाजिम्पाटबाट पक्राउ गरेको जनाइएको छ। पक्राउ परेका श्रेष्ठलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौँमा पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए।
कैलालीमा बुवाले गरे आफ्नै छोराको हत्या धनगढी। कैलालीमा बुवाले आफ्नै छोराको हत्या गरेका छन्। धनगढी उपमहानगरपालिका-६ मट्यारीका ४७ वर्षिय महेश कुमार चौधरीले आफ्नै २१ वर्षीय छोरा अर्जुन चौधरीको हत्या गरेका हुन्। अर्जुनलाई घरदेखी करिब १५० मिटर टाढा जंगलमा लगेर टाउकोमा ईट्टा प्रहार गरी महेशले हत्या गरेको प्रहरीले जनाएको छ। खबर पाउनासाथ वडा प्रहरी कार्यालय धनगढी कैलालीबाट प्रहरी निरीक्षक उपेन्द्र बहादुर बमको नेतृत्वमा खटिएको टोलीले महेशलाई नियन्त्रणमा लिएको छ । अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक देवेन्द्र बहादुर पालको कमाण्डमा खटिएको टोली अहिले घटनास्थलमा पुगेको छ।
काम नगर्ने नेतालाई ढ्यांग्रो ठटाएर लखेट्नुपर्छ : महावीर पुन काठमाडौं। राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनले जनताको मतबाट निर्वाचित सांसदहरूले काम नगरे ढ्यांग्रो ठटाएर लखेटिने चेतावनी दिएका छन्। माइतीघर मण्डलामा शुक्रबारबाट अनुसन्धान, नवप्रवर्तन र आविष्कारका निम्ति सरकार गम्भीर नभएको गुनासो गर्दै आन्दोलन थालेका पुनले नेताहरूले नीति निर्माणको काम नगरे ढ्यांग्रो ठोक्दै लखेट्ने चेतावनी दिएका हुन् । पुनले सांसदहरूले खादा, माला र भाषण गर्न, उद्घाटन गर्न समय मिल्ने तर कानुन बनाउन समय नमिल्ने भन्दै प्रश्न गरे। उनले अरु हेर्ने विभाग भए पनि अनुसन्धान, आविष्कार नवप्रवद्र्धन हेर्ने विभाग गठन गरिनुपर्ने माग पूरा नभएसम्म धर्ना जारी रहने बताए।  पुनले नेताहरूले बोलेर मात्रै विकास नहुने हुँदा काम गर्नुपर्ने औंल्याए।
लापसे गरेर स्कुल बस चलाउने चालक पक्राउ काठमाडौं।लागू पदार्थ सेवन गरी विद्यार्थी बस चलाउने चालकसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने नोवेल इङ्लिस बोर्डिङ स्कुलका विद्‍यार्थी बोकेको प्रदेश ३ -०१ ००६ ख ०६ ३० नम्बरको बसका चालक धादिङ गल्छी गाउँपालिका-९ का चन्द्रबहादुर तामाङ, ग १ य १११२ नम्बरको पर्यटक बस चालक गल्छी गाउँपालिका-६ का दिर्घबहादुर मग्राती,  बा १६ च ९३ ६९ नम्बरको कार चालक गल्छी गाउँपालिका-३ का रमेश मगर र बा ३१ प ३४ नम्बरका मोटरसाइकल चालक मकवानपुरको हेटौंडाका  राजु तामाङ रहेका छन्। थानकोटस्थित चेक पोइन्टमा भएको बिशेष चेकजाँचका क्रममा ट्राफिक प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। नियन्त्रणमा आएका ‍ सबैलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त थानकोट पठाइएको छ। नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी वृत्त थानकोटको संयुक्त टोलिले शुक्रवार ‍ २० सवारी साधन चेक गर्दा उनीहरु पक्राउ परेका हुन्।
कञ्चनपुरमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु कञ्चनपुर। कञ्चनपुरमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। शुक्रवार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा माछा मार्ने क्रममा करेन्ट लागेर ४८ वर्षीय दान बहादुर चुनाराको मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय झलारीले शुक्लाफाँटा–१० लालपनिया खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर चुनाराको मृत्यु भएको बताएको छ। करेन्ट लागेर घाइते भएका चुनाराको उपचारका क्रममा कैलालीको धनगढीस्थित माया मेट्रो अस्पतालमा मृत्यु भएको प्रहरी निरीक्षक सुर्य बहादुर शाहीले जानकारी दिएका छन्।
राष्ट्रिय विभूति सीताको उत्पत्ति दिवस मनाइँदै काठमाडौं। प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवं जयन्ती आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदै छ। त्रेता युगमा मिथिलाका राजा जनकले ठूलो यज्ञ गर्दा विधिपूर्वक खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको कथा रामायणलगायत वैदिक दर्शनका धर्मग्रन्थ एवं पुराणमा वर्णन गरिएको छ। भगवान् विष्णुको छैटौँ अवतारका रुपमा अयोध्याका राजा दशरथका पुत्रका रुपमा श्रीरामको जन्म हुने भएपछि लक्ष्मी सीताका रुपमा उत्पत्ति भएको वर्णन विभिन्न ग्रन्थमा गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिए। सीतालाई सत्यवती, पतिव्रता एवं आदर्श नारीका रुपमा सम्मान गरिन्छ। अयोध्याका राजा दशरथका छोरा राजकुमार रामसँग विवाह भएको थियो। पितृ आज्ञा पालना गर्न राम वनवास जाँदा सँगै गएकी सीताले रावणबाट हरण हुँदा पनि पतिव्रता धर्म नत्यागेको कथा पुराणमा उल्लेख छ। रावणलगायत राक्षसमाथि विजयी प्राप्त गरी अयोध्या फर्केपछि राजा रामलाई लोकनिन्दाले काम गर्न असहज नहोस् भनी सीताले महारानीको पद त्याग गरेर गर्भिणी भए पनि वनवास हिँडेकाले आदर्श नारीका रुपमा सम्झना गरिन्छ। अयोध्या त्याग गरे पनि मन, वचन र कर्मले पति रामप्रति समर्पित रहेको, लव, कुश दुई छोरालाई वाल्मीकि आश्रममा राखेर शिक्षा दीक्षाले निपुण बनाइ अयोध्या फर्काएका कारण पनि सीताको भूमिकाले सबै नारीलाई सम्मानित बनाएको धर्मशास्त्रविद् भट्टराई बताउँछन्। अयोध्यामा आएका लव, कुशले रामायणको कथा एवं सीता निर्दोष भएर पनि वनमा बस्नुपरेको करुण गीत सुनाएपछि प्रजाको मागअनुसार सीतालाई ऋषि वाल्मीकिसहित दरबारमा बोलाइएको थियो। दरबार आएकी सीताको धेरै अयोध्यावासीले स्वागत गरे पनि केहीले पवित्रताको विषयमा प्रश्न उठाएपछि सीताले ‘म पवित्र छु भने हे धर्तीमाता मलाई आफ्नो कोखमा लिनुस्’ भनी आह्वान गरी पृथ्वीभित्र लोप हुनुभएको वर्णन वैदिक ग्रन्थमा गरिएको छ। प्रश्न उठाउने प्रजाले सीतासँग माफी मागे पनि उनी धर्तीको कोखमा लुप्त भएको प्रसङ्ग रामायणलगायत धर्म ग्रन्थमा उल्लेख गरिएको छ। यसरी माटोबाट उत्पत्ति भएकी सीता माटोमै लुप्त भएकी थिइन्। सीता उत्पत्ति भएको भए पनि आजको दिनलाई सीता जयन्तीका रुपमा देशभरका रामजानकी मन्दिरमा विशेष पूजा आराधना गरी यो पर्व मनाइन्छ। यसैगरी जनकपुरको रामजानकी मन्दिरमा विशेष पूजासहित मेला लाग्ने गरेको छ। सांस्कृतिक, धार्मिक एवं प्राचीन ग्रन्थको पात्र सीताको योगदानलाई स्मरण गर्दै सरकारले उनलाई राष्ट्रिय विभूतिका रुपमा सम्मान दिएको छ।
आजको मौसमः देशका पहाडी भू-भागमा मेघगर्जनसहित पानी पर्ने संभावना काठमाडौं। हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागहरूमा आँशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली रहेको छ। दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू-भागमा आँशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ। राति भने देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन र चट्याङ, हावाहुरीबाट हुन सक्ने क्षति र जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
१८ जना एसपी एसएसपीमा बढुवा सिफारिस काठमाडौंं । गृह मन्त्रालयले नेपाल प्रहरीमा रिक्त १८ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवा सिफारिस गरेको छ। शुक्रबार बसेको गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिको बैठकले १८ जना प्रहरी उपरीक्षक (एसपी)हरूलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको हो।
सामुदायिक विद्यालयमा विद्यार्थीलाई टाइ अनिवार्य नगर्न काठमाडौं महानगरको परिपत्र काठमाडौं। काठमाडौं महानगरपालिकाले विद्यार्थीलाई टाइ अनिवार्य नगर्न सबै सामुदायिक विद्यालयलाई परिपत्र जारी गरेको छ । बिहीबार काठमाडौं महानगरभित्र सञ्चालित सबै सामुदायिक विद्यालयलाई महानगरले टाइ अनिवार्य नगर्न परिपत्र गरेको हो। पठाइएको पत्रमा लेखिएको छ, ‘महानगरपालिका शिक्षा समितिको मिति २०७९/१२/२८ गतेको निर्णयानुसार काठमाडौं महानगरपालिका भित्र संचालित सामुदायिक विद्यालयका कुनैपनि कक्षामा टाइ अनिवार्य गर्न नदिने निर्णय भएकाले निर्णयानुसार कार्यान्वयन गर्न सम्बन्धित सबै विद्यालयलाई जानकारीका लागि अनुरोध छ ।’
एघार महिनामा पाँच हजार तीन सयले छाडे गाउँ तम्घास।  बढ्दो बेरोजगारी, गुणस्तरीय शिक्षा र स्वास्थ्यको अभावका कारण अहिले बसाइँसराइ बढ्दो छ। यही समस्याको परिणामस्वरुप अहिले गाउँ रित्तिदै गएका छन्। यस्तै अवस्थामा गुल्मीमा पनि छ। गुल्मीमा पछिल्लो ११ महिनामा बसाइँसराइ बढ्दो अवस्थामा छ। जिल्लाबाट गत वर्ष ०७९ वैशाख १ देखि चैत ८ गतेसम्म ११ महिनामा एक हजार चार सय एक परिवारका पाँच हजार तीन सय ४५ जनाले गाउँ छोडेका छन्। राष्ट्रिय पञ्जीकरण विभागका अनुसार जिल्लाका १२ पालिकामध्ये सबैभन्दा धेरै मुसिकोट नगरपालिका र सबैभन्दा कम इस्मा गाउँपालिकाबाट बसाइँसराइ गरेका छन्। नौ महिनामा मुसिकोटबाट एक सय ७५ परिवारका सात सय २२ एवं इस्माबाट ७२ परिवारका दुई सय ४८ जनाले गाउँ छाडेका छन्। त्यस्तै रेसुंगा नगरपालिकाबाट एक सय परिवारका तीन सय ४८, कालीगण्डकी गाउँपालिकाबाट एक सय चार परिवारका तीन सय ९४ जना, गुल्मीदरबार गाउँपालिकाबाट एक सय २२ परिवारका चार सय ८५ जनाले गाउँ छोडेको तथ्यांक छ। सत्यवती गाउँपालिकाबाट एक सय ५९ परिवारका पाँच सय ८१, चन्द्रकोट गाउँपालिकाबाट एक सय १८ परिवारका चार सय ५५, रुरुक्षेत्र गाउँपालिकाबाट एक सय १४ परिवारका चार सय १४, छत्रकोट गाउँपालिकाबाट एक सय ३७ परिवारका पाँच सय ३१, धुर्कोट गाउँपालिकाबाट एक सय एक परिवारका तीन सय ९१, मदाने गाउँपालिकाबाट एक सय ११ परिवारका चार सय ११ जना र मालिका गाउँपालिकाबाट ८७ परिवारका तीन सय ३१ जनाले गाउँ छाडेका छन् । मालिका गाउँपालिकाका अध्यक्ष देवीराम अर्यालले बसाइँसराइ रोक्न पालिकाले शिक्षा, स्वास्थ्य र कृषिमा लगानी गरेको बताए। “स्वास्थ्य र शिक्षा राम्रो भएमा नागरिक गाउँ बस्छन्”, उनले भने, “कृषिमार्फत रोजगारी सिर्जना गर्ने योजना छ।” अर्यालले रोजगारी सिर्जना र मानिसको अत्यधिक बसाइँसराइ रोक्न भने आफूहरुको कदम पर्याप्त नभएको बताए। यसका लागि अन्तरपालिका समन्वय र संघीय र प्रदेश सरकारले पनि ठोस योजना बनाउनुपर्ने उनले बताए।
ललितपुरबाट नक्कली नोटसहित दुई जना पक्राउ ललितपुर। ललितपुरबाट नक्कली नोटसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। गोदावरी नगरपालिका-१३ झरुवारासी बस्ने ओखलढुंगा सिद्धिचरण नगरपालिका-११ घर भएका ३६ वर्षीय जिवन भन्ने सुरेश तामाङ र कास्की मादी गाउँपालिका-१ घर भएका २१ वर्षीय सुकुटे भन्ने भुपाल बिकलाई नक्कली नोट र विभिन्न दशीका समानसहित प्रहरीले पक्राउ गरेको छ। सुरेश तामाङले गोदावरी नगरपालिका-१३ झरुवारासीस्थित किराना पसलमा सामान किनेर जाली नोट दिएको भन्ने जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले सोही पसल अगाडिबाट नेपाली एक हजार दरको नोट १ थान, पाँच सय दरको नोट १ थान र एक सय दरको नोट १ थान गरी जम्मा ३ थान नक्कली जस्तो देखिने नोटसहित आइतबार पक्राउ गरेको हो। थप अनुसन्धानको क्रममा भुपाल बिकको समेत संलग्नता रहेको खुल्न आएपछि ललितपुर गोदावरी नगरपालिका-११ बज्रवाराहीबाट उनलाई नेपाली पाँच दरको नोट १ थान र सय दरको नोट १ थान गरी जम्मा २ थान नक्कली जस्तो देखिने नोटसहित फेला पारी बिहीबार प्रहरीले पक्राउ गरेको हो। साथै भुपाल बिकको गोदावरी नगरपालिका-१३ स्थित डेरा समेत तलासी गर्दा मुद्रा सम्बन्धी कसुरमा प्रमाणमा लाग्ने फोटकपी/प्रिन्टर मेसिन १ थान, नेपाली एक हजार, पाँच सय र एक सय दरका नोटको फोटोकपी गरिएको कागजातहरू र नक्कली जस्तो देखिने विभिन्न नोटपानाहरू समेत फेला पारी बारमद गरेको छ। उनीहरू उपर जिल्ला अदालत ललितपुरबाट म्याद थप अनुमति लिई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ।
अष्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने २५ वर्षीय श्रेष्ठ पक्राउ काठमाडौँ। अष्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक युवती पक्राउ गरेकी छन्। पक्राउ पर्नेमा  सुनसरी धरान उपमहानगरपालिका-१३ घर भई काठमाडौं महानगरपालिका-१ लाजिम्पाट बस्ने २५ वर्षीया सयना श्रेष्ठ रहेकी छन्। सयना समेतले वैदेशिक रोजगारीको लागि अष्ट्रेलिया पठाई प्रतिष्ठित कम्पनीमा ३ लाख रूपैयाँ भन्दा बढी तलब हुने काम लगाईदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी जम्मा ३० लाख रुपैयाँ लिई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१ लाजिम्पाटबाट पक्राउ गरेको हो। उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको छ।
महावीर पुन सडकमा (फोटो फिचर) काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले विभिन्न माग राखेर आन्दोलन सुरु गरेका छन् । कुल बजेटको २ प्रतिशत अनुसन्धानमा खर्च गर्नुपर्ने, नवउद्यमीहरुलाई हतोत्साह गर्न नहुने,जस्ता माग राखेर पुनले शुक्रबार माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । उनलाई युवाहरुले साथ दिएका छन् । बिहीबार नै सामाजिक सञ्जालमा आन्दोलनका नारा सार्वजनिक गरेका पुनले शुक्रबार आफ्ना समर्थकसहित प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् । अनुसन्धान, नवप्रवर्तन र आविष्कारका निमित्त सरकार गम्भीर नभएको पुनको आरोप छ । नवप्रवर्तन अनुसन्धान र आविष्कार कोष खडा गर्नुपर्ने माग गरेका पुनले यसअघि प्रधानमन्त्रीसहितको ध्यानाकर्षण गराएका थिए ।
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भरतपुर। भरतपुर महानगरपालिका–२८ साझापुरमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ५५ वर्षीय जलवा महतो रहेका छन्। गए राति ना २२प ६८०० नंको मोटरसाइकलले पैदल हिँडिरहेका महतोलाई ठक्कर दिएको हो। मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते महतोको भरतपुर अस्पतालमा उपचारका क्रममा राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए। मोटरसाइकल चालक भरतपुर–२७ का ३४ वर्षीय शिवनारायण महतो पनि घाइते भएका छन्। उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
गुल्मीमा जडीबुटी उद्यानमा आगजनी गर्ने व्यक्ति पक्राउ गुल्मी। गुल्मीमा जडीबुटी उद्यानमा आगो लगाउने एक व्यक्तिलाई पक्राउ गरिएको छ। इस्मा गाउँपालिका–५ इस्मा जडीबुटी उद्यानमा आगो लगाउने सोही ठाउँका कृष्णबहादुर बस्नेतलाई पक्राउ गरिएको जिल्ला वन अधिकृत जीवन पङ्गेनीले जानकारी दिए। उनले यही वैशाख १० गते जडीबुटी उद्यानमा आगो लगाएको प्रमाणित भएपछि पक्राउ गरिएको हो। गुल्मी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी आगजनीमा संलग्न बस्नेतमाथि अनुसन्धान थालिएको छ। लुम्बिनी प्रदेश सरकार र डिभिजन वन कार्यालय गुल्मीको रु एक करोडभन्दा बढी लगानीमा जडीबुटी उद्यान निर्माण गरिएको थियो। उक्त वन उद्यानमा रोपण गरिएका एक सयभन्दा बढी विभिन्न प्रजातिका बहुमूल्य जडीबुटी आगलागीबाट जलेर नष्ट भएको डिभिजन वन कार्यालयले जनाएको छ। आधा हेक्टर वन क्षेत्रमा आगलागी भएको थियो। वन ऐन, २०७६ अनुसार वन क्षेत्रमा आगजनी गर्ने व्यक्तिलाई रु ६० हजार जरिवाना वा तीन वर्ष कैद वा दुवै सजाय हुने प्रावधान रहेको छ। वन वातावरण संरक्षणजस्तो संवेदनशील विषयमा दोषीलाई कारबाही गर्न सहयोग गर्नुपर्नेमा राजनीतिक दलका स्थानीय प्रतिनिधिले वन मुद्दाको अनुसन्धान कार्यमा बाधा पुर्‍याउन खोजेको अधिकृत पङ्गेनीको आरोप छ।
थाहा पाउनुहोस् आजको मौसम काठमाडाैं। हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदुरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू-भागमा आँशिक बदली रहेको छ।गण्डकी प्रदेशको एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित हल्का र क्षणिक वर्षा भइरहेको छ। दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू-भागमा आँशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। सुदूर पश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा तथा देशका बाँकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ। राति भने देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ।
श्रीमतीको हत्या गरी परिचय लुकाई बसेका व्यक्ति १८ वर्षपछि पक्राउ काठमाडौं । श्रीमतीको हत्या गरी वास्तविक परिचय लुकाई बसेका एकजना १८ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्घाखाँची वल्कोट स्थायी घर भई काठमाडौं महानगरपालिका–१७ क्षेत्रपाटी ढल्कु डेरा गरी बस्ने ५८ वर्षीय खुमे दर्जी रहेका छन् । खुमे दर्जीले रुपन्देही साविक दुधराक्ष गाविस–३ बुद्धनगरमा बसोबास गरेको अवस्थामा २०६१ मंसिर २४ गते कान्छी श्रीमती ४० वर्षीया राधिका दर्जीलाई मादक पदार्थ सेवन गरेको विषयमा चिर्पट प्रहार गरी हत्या गरी फरार रहेका थिए । भारतको दिल्लीमा करिब तीनवर्ष काम गरी नेपाल आई काठमाडौं क्षेत्रपाटी ढल्कुमा वास्तविक पहिचान लुकाई दिपक रानाको नाममा लुकीछिपी बसेको सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्युरो महाराजगंजबाट खटिएको प्रहरीले उनलाई काठमाडौं क्षेत्रपाटी ढल्कुबाट पक्राउ गरेको हो । उनलाई थप कानुनी कारबाहीको लागि ईलाका प्रहरी कार्यालय बुटवल, रूपन्देहीमा बुझाइएको छ ।
मिटरब्याज पीडितलाई निवेदन दिन आयोगको आह्वान काठमाडौं। अनुचित लेनदेन (मिटरव्याज) सम्बन्धि जाँचबुझ गर्न गठित जाँचबुझ आयोगले मिटरब्याजपीडितलाई निवेदन दिन आह्वान गरेको छ। बिहीबार आयोगले यही वैशाख १७ देखि ३१ गतेसम्म निवेदन सकिने जनाएको छ ।  आयोगको कार्यालय वा सम्बन्धित् जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन सकिने आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले जानकारी दिएका छन् । जिल्ला प्रशासन कार्यालयमा मिटरब्याजपीडित सहायता कक्ष पनि स्थापना गरिएको र सोही स्थानबाट निःशुल्क फारम पाइने र भर्न नसक्नेका लागि प्रशासनकै कर्मचारीले सहयोग गरिदिने आयोगले जनाएको छ । तराई मधेशका विभिन्न जिल्लाबाट काठमाडौं आएर मिटरब्याजपीडित संघयर्षरत् छन् । सरकारले समस्या समाधान गर्न नखोजेको भन्दै उनीहरु वार्ता नै भंग गरेर आन्दोलनमा उत्रिएका थिए । सरकारले मिटरब्याजपीडितको समस्या समाधान गर्न विषेश अदालका पूर्व अध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा तीन सदस्य जाँचबुझ आयोग गठन गरेको हो । आयोगको सदस्यमा पूर्व नायव महान्याधिवक्त गणेशबाबु अर्याल र पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक उत्तमराज सुवेदी रहेका छन् ।
भक्तपुरमा दिगु (देवाली) पूजा मनाइयो (भिडियो) भक्तपुर । भक्तपुरमा बिहीबार दिगु (देवाली) पूजा गरिएको छ । भक्तपुरका अधिकांश किसान परिवारले उक्त पूजा गरेका हुन् । पूजामा बोकाको बलि दिने गरिन्छ । स्थानीय केशव कासुलाले दिगु पूजाका अवसरमा कूल परिवारका प्रायः सबै जना जमघट हुने र पूजाआजा गरिसकेपछि सोहि स्थानमा प्रसाद खाने प्रचलन रहेको बताए । दिगु पूजामा बेलविवाह गरेका छोरीलाई सजाएर पूजा गर्ने चलन रहेको संस्कृतिविद्हरुको भनाइ छ । भक्तपुरमा तःपुखु (सिद्धपोखरी), रानीपोखरी, चोंगागणेश, कमलविनायकलगायत ठाउँमा दिगु द्यः (देवाली देउता) रहेको स्थानीयहरुको भनाइ छ । हेर्नुहोस् भिडियो:
नेपालमा उत्पादित सवारीसाधन दर्ताका लागि बाटो खुल्यो काठमाडौँ। नेपालमा जडान वा उत्पादन भएका सवारीासाधन दर्ता गर्न बाटो खुलेको छ। यातायात व्यवस्था विभागले बिहीबार सूचना निकालेर नेपालमा जडान वा उत्पादन हुने सवारीसाधन दर्ता सम्बन्धी विशेष व्यवस्था गरेको जनाएको  छ। यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० मा संशोधन गर्दै नेपालमा जडान वा उत्पादन भएका सवारी दर्ता सम्बन्धी व्यवस्तथा गरेको विभागले जनाएको छ। यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० को दफा ११.१ अन्तर्गत नयाँ बुँदा ११.१.९ थप गरेको हो। यो व्यवस्थासँँगै अब विदेशबाट पार्टपूर्जा पैठारी गरी नेपालमा जडान हुने वा नेपालमा नै उत्पादन हुने सवारी साधनको नयाँ दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता, लिलाम दर्ता, पुनः दर्ता र नामसारी लगायतका प्रयोजनका लागि प्रज्ञापनपत्र आवश्यक नपर्ने सार्वजनिक सूचनामा उल्लेख छ। यसैगरी, नेपालमा जडान हुने वा उत्पादन हुने सवारीको नयाँ दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता, लिलाम दर्ता, पुनः दर्ता र नामसारी लयातका कार्यका लागि जडानकर्ता वा उत्पादक कम्पनीले भन्सार प्रज्ञापनपत्रको सट्टा मूल्य अभिवृद्धि कर विजक र प्रचलित कानुन बमोजिम अन्तः शुल्क तिरेको प्रमाण पेस गर्नुपर्ने हुन्छ।
विभिन्न स्थानबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ काठमाडौँ। विभिन्न स्थानबाट प्रहरीले अवैध लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ। बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम ३ सय ४० मिलिग्रामसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा बाँके खजुरा गाउँपालिका-८ बस्ने २४ वर्षीय अमिर खान र बाँके डुडुवा गाउँपालिका-७ बस्ने ३७ वर्षीय राजु सिंह रहेका छन् । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भे.७ प ८४३५ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । यस्तै, कैलाली, लम्कीचुहा नगरपालिका-३ चिसापानी बजारबाट अवैध लागूऔषध खैरो हेरोईन करिब १ सय ५० मिलिग्रामसहित सोही ठाउँ बस्ने २९ वर्षीया दिपा बिष्ट साँउदलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
अजरवैजान पुर्‍याई अलपत्र पारेर ठगी गर्ने २५ वर्षीय युवक पक्राउ काठमाडौँ। अजरवैजान पुर्‍याई ठगी गरेको अभियोगमा एक युवकलाई पक्राउ गरेको छ।  पक्राउ पर्नेमा दाङ लमही नगरपालिका-५ बस्ने भीमजंग रसाइली भन्ने २५ वर्षीय भिम कुमार सुनार रहेका छन्। सुनारले एक जना पीडितलाई वैदेशिक रोजगारीका लागि अजरबैजानको होटलमा मासिक ७ सय डलर तलब हुने कामको लागि पठाइ दिन्छु भनि ८ लाख ५० हजार रूपैयाँ लिई अजरबैजान पुर्‍याई ५ महिनासम्म अलपत्र पारी ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई काठमाडौंबाट पक्राउ गरेको हो। उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभागमा पठाइएको छ ।
बर्दियाका थारु महिला : चर्को गर्मीमा छुट्टै तरिकाले दिन बिताउँछन् बर्दिया। बर्दियाका थारु समुदायका महिलाहरु यो दिउँसोको चर्को गर्मीमा छुट्टै तरिकाले दिन बिताउँछन्। परिवारलाई खुवाएर, घरकाे सबै काम सकिएपछि उनीहरू समूहमा भेला भएर गाउँबाट केही किलोमिटर टाढा नजिकैको पोखरीतिर जान्छन्। हातले बुनेको माछा मार्ने जाल अर्थात हेलका लिएर उनीहरू पोखरीको चिसो पानीमा प्रवेश गर्छन्। माछा समाउने क्रममा उनीहरू आफ्नो जीवन भाेगाइको कुराकानीमा संलग्न हुन्छन्। दिउँसोको यो गतिविधिले उनीहरूलाई गर्मीबाट बच्न मद्दत गर्नुका साथै उनीहरूलाई एकअर्कासँग जोड्न, सामाजिक अन्तरक्रियाको आवश्यकता पूरा गर्न मद्दत गर्दछ। बेलुकाको खानाको लागि ताजा माछा समातेर उनिहरु साँझ घर फर्कने क्रममा, शारीरिक रूपमा स्फूर्ति र सामाजिक रूपमा स्वस्थ पनि हुन्छन्।
न्युट्रीप्लसद्वारा शेफ सत्रको आयोजना काठमाडौँ। नेपालका प्रमुख होटलका शेफहरूलाई एकै ठाउँमा ल्याएर सञ्जाल बनाउन र शेफ समुदाय समक्ष न्युट्रीप्लसलाई परिचित गराउने उद्देश्यका साथ, आरएमसी फुड्सले शेफ सत्रको पहिलो संस्करण सफलतापूर्वक आयोजना गरेको छ। शेफ समुदायलाई एकताबद्ध गर्न र उत्कृष्ट खाना बनाउने तेलको महत्त्वबारे छलफल गर्न आयोजित सत्र सफल साबित भएको छ। देशमा कार्यकारी शेफको उपाधि जित्ने पहिलो नेपाली शेफ गोविन्द नरसिंह केसी सत्रमा प्रमुख वक्ता थिए। उक्त नेटवर्किङ सेसनमा उनीसँगै चर्चित शेफ रत्नबहादुर थापा, शेफ लक्ष्मणप्रसाद भट्टराई, शेफ एसोसिएसनका अध्यक्ष श्याम लामा लगायत अन्य शेफहरुको उपस्थिति रहेको थियो। सत्रमा शेफ समुदाय यस प्रकारका कार्यक्रम आयोजना गर्नुको महत्व, उत्कृष्ट खाना बनाउने कलाका लागि गरिने मेहेनत, उत्कृष्ट परिकार बनाउनका लागि तेलको महत्वका विषयमा छलफल भएको थियो। कार्यक्रममा मास्टर सेफ प्रोफेसनल विजेता तथा न्युट्रिप्लसका ब्रान्ड एम्बेसेडर सन्तोष शाहले ब्राण्डको हिस्सा बन्नुको कारण र आफूले खाना बनाउने क्रममा न्युट्रीप्लसले थपेको फाइदाका बारेमा बताए। उनले स्वस्थ खाना पकाउने तेलको महत्त्व र जनस्वास्थ्यमा त्यसको प्रभावमा जोड दिए। आरएमसी फुड्सका कार्यकारी निर्देशक यश अग्रवाल भने, “नेपालका चर्चित र प्रमुख शेफहरू भेट्न पाउँदा र शेफ समुदायमा हाम्रो उत्पादन न्यूट्रिप्लसको परिचय दिन पाउँदा हामीलाई गर्व महसुस् भएको छ। आज उपस्थित शेफहरू हाम्रो भर्खरै प्रस्तुत गरिएको न्युट्रीप्लसबारे पहिले नै जानकार छन् र यसलाई वहाँहरू आफ्नो पाककलाको एक कडीका रूपमा प्रयोग गर्दै हुनुहुन्छ भन्ने कुरा थाहा पाउन पाउँदा हामी पनि खुसी छौं। यस सत्रको उद्देश्य आफ्नो व्यवसायिक जीवनमा व्यस्त शेफहरूबीच सुमधुर भेटघाट र चिनजान गराउने थियो। यस सत्रको सफलताले हामीलाई शेफ समुदायको लागि नियमित अन्तरालमा यस्ता कार्यक्रमहरू सञ्चालन गर्न उत्प्रेरित गरेको छ।” आरएमसी समूहले विगत तीन दशकदेखि नेपाली बजारमा अग्रणीका रूपमा निर्माण क्षेत्रलाई सेवा दिँदै आएको छ। समूहको उपभोक्ता र सरोकारवालाहरूको विश्वास अब खाद्यमा पनि विस्तार गर्ने उदेश्यले आरएमसी फुड्स सन् २०२१ मा स्थापित गरेको छ। आरएमसी फुड्स प्रा. लि. खाद्य पदार्थको उत्पादन, प्रशोधन र नेपालभित्र र निर्यात बजारका लागि सम्बन्धित उत्पादनहरूमा केन्द्रित छ। दशकौं पुरानो परम्परालाई निरन्तरता दिँदै, समूहले नेपालको औद्योगिक क्षेत्र जीतपुर, बारामा सबैभन्दा ठूलो र अत्याधुनिक तेल प्रशोधन कारखाना स्थापना गरेको छ र एकैसाथ अन्य थप उत्पादनहरू ल्याउने योजना छ।
गुल्मीमा जीप दुर्घटना, एककाे मृत्यु गुल्मी। गुल्मीमा जीप दुर्घटनामा परेर एक जनाको मृत्युको छ। मालिका गाउँपालिका– २ मा लु १ च ९९११ नम्बरको जीप गए राति खाल्टुङ्ग खोलामा दुर्घटना हुदाँ एक जनाकाे मृत्यु भएकाे हाे। जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेका अनुसार साे जीपका सहचालक बाग्लुङ बडिगाड गाउँपालिका–९ का १८ वर्षका किशोर केसीको मृत्यु भएकाे हाे। साे दुर्घटनामा घाइते जीप चालक प्रेम बहादुर केसीकाे भने लुम्बिनी मेडिकल कलेज, पाल्पामा उपचार भइरहेको छ। उनका अनुसार मालिका गाउँपालिकाकाे दर्लिङ्गबाट बाग्लुङको बडिगाड गाउँपालिकाको भिमगिठेका लागि उक्त् जीप हिडेकाे थियाे। ब्रेक फेल भएर जीप दुर्घटना भएको बुझिएकाे छ।
चट्याङ लागेर बालक मृत्यु, दुई घाइते फुङ्लिङ। ताप्लेजुङमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ भने दुई घाइते भएका छन्। गए राति अनिसा पानीसँगै परेको चट्याङ लागेर मैवाखोला गाउँपालिका–४ साँघु चित्रेका ११ वर्षीय दोर्ची शेर्पाको मृत्यु भएको हो। चट्याङ लागेर दोर्चीका बुबा दारिञ्जी र आमा मिङ्लाल्हमु सख्त घाइते भएका छन्। घाइते दुवै जनाको जिल्ला अस्पतालको उपचार भइरहेको मैवाखोला गाउँपालिकाका अध्यक्ष विजय प्रकाश वनेमले जानकारी दिए।
स्वास्थ्य बिमा गराउनेमा महिला बढी गोरखा। गोरखा जिल्लामा ८८ हजारभन्दा बढी नागरिकले स्वास्थ्य बिमामा आवद्ध भएका छन् । विसं २०७४ असारबाट जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम सुरुआत भएको थियो । स्वास्थ्य बिमा बोर्ड कार्यालय गोरखाका प्रमुख विशाल लौडारीका अनुसार एघार स्थानीय तह रहेको जिल्लाभित्र स्वास्थ्य बिमा गराउनेको सङ्ख्या गोरखा नगरपालिकामा सबैभन्दा धेरै रहेका छन् । “एघार स्थानीय तहमध्ये गोरखा नगरपालिकाभित्र सबैभन्दा धेरैले स्वास्थ्य बिमा गराएका छन्”, उनले भने, “नगरपालिकामा अहिलेसम्म २१ हजार सात सय १८ जनाले स्वास्थ्य बिमा गराइसकेका छन् ।” उनले जिल्लाको चुमनुब्री गाउँपालिकामा स्वास्थ्य बिमा गराउनेको सङ्ख्या सबैभन्दा न्यून रहेको जानकारी दिएका छन् । “चुमनुब्री गाउँपालिकामा अहिलेसम्म सात सय ७४ जनामा मात्र स्वास्थ्य बिमाको पहुँचमा रहेको छ’ प्रमुख लौडारीले भने। उनका अनुसार पालुङटार नगरपालिकाभित्रका १६ हजार एक सय ५१ जनाले स्वास्थ्य बिमा गराएका छन् भने सिरानचोक गाउँपालिकाका नौ हजार नौ सय ४२ जनाले अहिलेसम्म स्वास्थ्य बिमा गराएका छन् । प्रमुख लौडारीले स्वास्थ्य बिमा गराउनेमा आरुघाट गाउँपालिकाका आठ हजार तीन सय ३४ , भीमसेन थापा गाउँपालिकाका सात हजार आठ सय ४८ , अजिरकोट गाउँपालिकाका दुई हजार चार सय १३ , बारपाक सुलिकोट गाउँपालिकाभित्रका छ हजार, गण्डकी गाउँपालिकाका पाँच हजार तीन सय १० र धार्चे गाउँपालिका एक हजार आठ सय ९३ रहेको जानकारी दिएका छन् । उनले गोरखामा स्वास्थ्य बिमा गराउनेमध्ये पुरुषको तुलनामा महिलाको सङख्या बढी रहेको बताए । “स्वास्थ्य बिमा गराएकामध्ये ४२ हजार एक सय १४ जना पुरुष रहेका छन्”, उनले भने, “स्वास्थ्य बिमा गराउने महिलाको सङ्ख्या भने गोरखामा ४६ हजार छ सय दुई जना रहेको छ ।” स्वास्थ्य बिमा गराएकामध्ये एक हजार नौ सय ३३ जना अतिगरिब घरपरिवार पहिचान भएका व्यक्तिको निःशुल्क बिमा गरिएको उनले सुनाए। त्यस्तै १५ हजार नौ सय चार जना ज्येष्ठ नागरिक, पाँच सय ९८ जना ‘क’ वर्गका अपाङ्गता भएका व्यक्ति तथा तीन सय ४३ जना एचआइभी सङ्क्रमित व्यक्तिको पनि निःशुल्क बिमा गरिएको उनले बताए। पाँच परिवार भएका परिवारले एक वर्षको रु तीन हजार पाँच सय तिरेपछि एक वर्षसम्म तोकिएको अस्पतालबाट प्रतिव्यक्ति रु एक लाख बराबरको उपचार सेवा प्राप्त गर्ने प्रमुख लौडारीले जनाए। पाँच जनाभन्दा बढी सदस्य रहेका परिवारले थप एक व्यक्तिको रु सात सय थप गरेर बिमा गर्नसक्ने व्यवस्था छ। गोरखा जिल्लामा बिमा गराएका व्यक्तिले गोरखा अस्पताल, आँपपीपल अस्पताल, मकैसिंह प्राथमिक स्वास्थ्य केन्द्र, जौवारी प्राथमिक स्वास्थ्य केन्द्र र आरुघाट प्राथमिक स्वास्थ्य केन्द्रबाट उपचार सेवा लिनसक्ने गरी स्वास्थ्य संस्था सूचीकृत रहेको प्रमुख लौडारीले बताए। रासस
निजी अस्पतालमा गएर सेवा लिनुपर्ने बाध्यताको अन्त्य गर्नुपर्छ: नारायणमान बिजुक्छेँ भक्तपुर। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले गरिब जनतालाई निजी अस्पतालमा गएर सेवा लिनुपर्ने बाध्यताको अन्त्य गर्नुपर्ने बताएका छन् । आज भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालमा कार्यरत नर्सहरुसँगको अन्तक्रियामा उनले निजी अस्पतालले स्वास्थ्य सेवालाई भन्दा नाफालाई बढी प्राथमिकतामा राख्दा सेवाग्राही बिरामी चर्को मारमा परेको बताएका हुन् । बिजुक्छेँले भने, “चिकित्सक तथा नर्सले नम्र भाषा र असल व्यवहारबाट बिरामीको सेवा गर्नसके बिरामीको मन जित्न सकिन्छ । चिकित्सक र कर्मचारीले आफ्नो पदीय दायित्वमात्र पूरा गर्ने नभई मन, वचन र कर्मबाट जनताको स्वार्थ भावनाले काम गर्न प्रेरित गर्नुपर्छ ।” पुँजीवादी समाजमा समाजवादी विचार र सिद्धान्तले काम गर्नु चुनौतीपूर्ण हुने बताउँदै उनले असल नियतबाट हुने काममा जनताको पनि साथ र सहयोग रहने हुँदा अस्पताल तथा अन्य संस्थामा हुने कामको समय समयमा अनुगमन तथा निरीक्षण हुनुपर्ने औँल्याए। कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख एवं अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले ख्वप अस्पतालबाट हुने सेवा विस्तारमा जनगुनासो कम हुने ढङ्गले चिकित्सक र कर्मचारीले काम गर्नुपर्ने बताए । अस्पतालमा कार्यरत स्टाफ नर्सहरुले ख्वप अस्पतालबाट प्रवाहित सेवासुविधा र स्वास्थ्य बीमा कार्यक्रमबाट धेरै बिरामी लाभान्वित भएको बताउँदै आगामी दिनमा अस्पतालले थप सुविधा प्रदान गर्दै जानुपर्ने सुझाव दिएका थिए ।
सडेको अवस्थामा भक्तपुरको जंगलमा एक जनाको शव फेला काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका–५ खरिपाटीस्थित सेतीदेबी सामुदायिक जंगलमा एक पुरुषको शव भेटिएको छ । अन्दाजी ४०/४५ वर्षको पुरुषको शव झुण्डिएको अवस्थामा भेटिएको भक्तपुरका एसपी प्रजित केसीले जानकारी दिए । उनका अनुसार हरियो डोरीको पासोमा ती पुरुषको टाउको रुखमा झुण्डिएको अवस्थामा भेटिएको हो । शरीरको भाग भने सडेको अवस्थामा भुँईमा भेटिएको छ। घाँटीको भाग सडेर चुडिएपछि भुँईमा खसेको हुनसक्ने आशंका गरिएको छ ।