content
stringlengths 20
64.1k
⌀ |
---|
हेटौँडामा जिपको ठक्करबाट बालकको मृत्यु मकवानपुर। मकवानपुरको हेटौँडामा जिपको ठक्करबाट आज एक बालकको मृत्यु भएको छ।
हेटौँडा उपमहानगरपालिका–११ सिमलटारबाट हेटौँडातर्फ आइरहेको बागमती प्रदेश ०३–००१च १५९७ नं को जिपले ठक्कर दिँदा सिमलटारका दुई वर्षीय समर लोको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
ठक्करबाट गम्भिर घाइते भएका उनको हेटौँडा अस्पतालमा मृत्यु भएको हो। प्रहरीले जिप चालकलाई पक्राउ गरेको छ। |
महाेत्तरीमा वन क्षेत्रमा सिकार खेल्न हिडेका तीन पक्राउ महोत्तरी। राष्ट्रिय वन क्षेत्रभित्र वन्यजन्तुको सिकार गरिरहेका ३ जनालाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ। मंगलबार बेलुका बर्दिबास नगरपालिका-११ स्थित ३ किलोमीटर उत्तरतर्फ बनपथ राष्ट्रिय वन क्षेत्रभित्रबाट उनीहरु हतियारसहित पक्राउ परेका हुन्।
पक्राउ पर्नेहरुमा सर्लाही इश्वरपुर नगरपालिका वडा न.१२ बस्ने ३५ वर्षिय लाल बहादुर भोलन, ३० वर्षिय प्रेम बहादुर भोलन र ३८ वर्षिय अमिर स्याङतान छन्।
विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय बर्दिबास र खयरमारा प्रहरी चौकीवाट खटिएको प्रहरीले २ थान भरुवा बन्दुक समेत बरामद गरेको छ। तीनै जनालाई हिरासतमा लिएर कारवाही प्रक्रिया अगाडि बढाइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
|
विश्व दूरसञ्चार र सूचना समाज दिवस आज काठमाडौं। विश्व दूरसञ्चार र सूचना समाज दिवस अर्थात् विश्व दूरसञ्चार र सूचना समाज दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता नेत्रप्रसाद सुवेदीले दिवसका अवसरमा आज सरकारले दूरसञ्चारसँग सम्बन्धित विषयमा अन्तक्र्रियालगायत कार्यक्रम गर्न लागेको जानकारी दिए।
त्यसैगरी नेपाल दूरसञ्चार प्राधिकरणले आज बिहान होटल राजधानीको र्याडिसनमा दूरसञ्चारसम्बन्धी गोष्ठीको आयोजना गरेको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए।
विश्व दूरसञ्चार दिवस सन् १९६९ मे १७ देखि प्रत्येक वर्ष मनाइँदै आएको छ। दूरसञ्चारको विकासँगै आधुनिक युगमा फोन, मोबाइल र इन्टरनेट नागरिकको पहिलो आवश्यकता भएको छ। यो बिना जीवन कल्पना गर्न गाह्रो भएको छ।
‘सूचना तथा सञ्चार प्रविधिका माध्यमबाट अति कम विकसित देशहरूको सशक्तीकरण’ नारासहित मनाइने दूरसञ्चार दिवसले सबै नागरिकलाई प्रविधिसँग जोडिने अवसर प्रदान गरेको छ। रासस |
जापानमा भएको बस दुर्घटनामा २ नेपाली विद्यार्थीको मृत्यु काठमाडौं। जापानमा भएको बस दुर्घटनामा परी दुई नेपाली विद्यार्थीको मृत्यु भएको छ। जापानको सेन्दाईस्थित सहरमा बस दुर्घटना हुदाँ दुई जना नेपाली विद्यार्थीको मृत्यु भएको हो।
जापानी सञ्चारमाध्यमका अनुसार गत मंगलबार साँझ भएको दुर्घटनामा परी मृत्यु हुनेमा काभ्रेका नवराज तामाङ र युवराज थापा रहेका छन्। थापा सेन्मोन गाक्कोउ तथा तामाङ निहोनगो गाक्कोउमा अध्ययनरत रहेको पनि जापानी मिडियाले जनाएका छन्।
जापानी मिडियाका अनुसार सेन्दाईबाट इवातेका लागि हिँडेको बसलाई पछाडिबाट ट्रकले ठक्कर दिँदा सो दुर्घटना हुन पुगेको थियो, जसमा दुई नेपालीसहित तीन जनाको मृत्यु हुन पुग्यो। बसमा खराबी देखिए पछि मियागी प्रान्तको तोहोकु एक्सप्रेस वेमा जाँचका लागि रोकिराखेको अवस्थामा ट्रकले आएर ठक्कर दिएको हो।
एक्सप्रेस रोडमा रोकिराखेको बसलाई ट्रकको ठक्करपछि सो बस उछिट्टिएर १ सय मिटर पर पुगेको थियो। उक्त बसमा चालक दलका सदस्य सहित ४० जना थिए, जसमा दुई नेपालीसहित तीनजनाले ज्यान गुमाए। |
आज विश्व उच्च रक्तचाप दिवस मनाइँदै काठमाडाैं। आज विश्व उच्च रक्तचाप दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ। यस दिवसका अवसरमा आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सरकारका विभिन्न निकायलगायत संघसंस्थाले विभिन्न चेतनामूलक कार्यक्रम गर्ने भएका छन्।
हरेक वर्ष मे १७ तारिखका दिन यो दिवस मनाइन्छ। विश्वभर विभिन्न चेतनामूलक कार्यक्रम गरेर आज उच्च रक्तचाप दिवस मनाइँदैछ। यो दिवस सन् २००५ देखि मनाउन थालिएको हो।
बदलिँदो र व्यस्त जीवनशैली, प्याकेटका खानेकुरा, प्रशोधित पदार्थ सम्पत्ति र प्रगतिको प्रतिस्पर्धाले उच्च रक्तचापका बिरामीको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ। सन् २०१६ मा नेपाल डेमोग्राफिक एण्ड हेल्थ सर्वेले उच्च रक्तचाप नेपालीका लागि चिन्ता लिनुपर्ने अवस्थामा पुगेको देखाएको छ।
सन्तुलित खानपान, शारीरिक अभ्यास र तनाव घटाउने गरेमा उच्च रक्तचापको समस्या कम हुने चिकित्सक बताउँछन्। नेपाल डेमोग्राफिक एण्ड हेल्थ सर्वेमा २५ प्रतिशत वयस्क पुरुषमा उच्च रक्तचाप भेटिएको छ । सहरी क्षेत्रमा यसको प्रभाव अझ बढ्दो छ। |
थाहा पाउनुहाेस् आजको मौसम काठमाडौं। हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा हाल देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि गणडकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका पहाडी भू-भागको एक दुई सथानमा मेघ गर्जन चट्याङ सहित हल्का वर्षा भएको छ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।
दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका केही स्थानहरूमा साथै लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।
राति भने कोशी प्रदेशका साथै देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको संभावना रहेको छ।
कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षा र हावा हुरीको समेत सम्भावना रहेको हुनाले त्यसबाट हुन सक्ने क्षति र जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ। |
मनसुनजन्य विपद् उद्धारको तयारीमा रहन महानिरीक्षक अर्यालको निर्देशन काठमाडौं। सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले मनसुनजन्य विपद् उद्धारका लागि तयारी हालतमा रहन निर्देशन दिएका छन्।
मनसुनका बारेमा पूर्वजानकार रहन र हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्नको लागि तत्काल तयारी गर्न जरुरी रहेको बताउँदै उनले जति धेरै पूर्वतयारी गर्न सक्यौँ त्यति नै मनसुनजन्य प्रकोपबाट मानवीय तथा भौतिक क्षति कम गर्न र पीडितको उद्धार गर्न सकिने बताएका छन्।
मुलुकमा आइपर्ने विषम परिस्थितिमा जुनसुकै समयमा जस्तोसुकै अवस्था र जहाँ पनि परिचालित हुन पूर्वतयारीका साथसाथै शारीरिक र मानसिक रुपमा तयार रहन महानिरीक्षक अर्यालले निर्देशन दिए।
यसअघि उनले सोमबार सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा निरीक्षण भ्रमण गरेका थिए। सो क्रममा पनि उनले विपद् व्यवस्थापनको आवश्यक तयारीमा बस्न भनेका थिए।
विपद् उद्धारको लागि दक्ष जनशक्ति उत्पादन र आउनसक्ने प्राकृतिक जोखिमलाई उत्तिनै ध्यान दिएर भूगोल र प्रकोपअनुसार कुनै पनि समयमा जस्तो सुकै परिस्थितिमा परिचालन हुनसक्ने ढङ्गले लाग्नसमेत शिक्षालयलाई उनले निर्देशन दिए। |
तुम्लिङटारमा ५२ वर्षपछि उड्न थाल्यो ७२ सिट क्षमताको ठूलो जहाज किमाथाङ्का। सङ्खुवासभाको तुम्लिङटार विमानस्थलको धावनमार्गको स्तरोन्नति भएसँगै बुद्ध एयरको एटिआर ७२ सिटको जहाजले दैनिक उडान भर्न थालेको छ । तुम्लिङटार विमानस्थलमा पहिलो पटक बुद्ध एयरको एटीआर ७२ सिटे जहाजले उडान सुरु गरेको छ ।
तुम्लिङटार विमानस्थलको स्तरोन्नति भएसँगै बुद्ध एयरको एटिआर ७२ सिटको जहाजले मङ्गलबारदेखि दैनिकरूपमा काठमाडौँ–तुम्लिङटार–काठमाडौँ उडान भर्न थालेको नागरिक उड्डयनको कार्यालय तुम्लिङटारले जनाएको छ ।
विसं २०२८ मा स्थापना भएको हिमाली जिल्ला तुम्लिङटार विमानस्थल ५२ वर्षपछि ७२ सिट क्षमताको ठूलो जहाजले उडान भर्न थालेको हो । बुद्ध एयरले तुम्लिङटार विमानस्थलमा उडानका लागि परीक्षण उडान गरेको थियो ।
बुद्ध एयरको ७२ सिटको जहाजले उडान भर्न थालेपछि बिरामी र वृद्धवृद्धाले खुसी व्यक्त गरेका छन् । निजी क्षेत्रको सेवा प्रदायक कम्पनी बुद्ध एयरले एटीआर ७२ सिट क्षमताको जहाजले सेवा विस्तार गरेपछि खुसी व्यक्त गरेका हुन् ।
पहाडी भेगका विमानस्थलमध्ये अहिले तुम्लिङटार नियमित र निर्बाध उडान भइरहेको विमानस्थल हो । तुम्लिङटार विमानस्थल पहाडी जिल्लाको सबैभन्दा बढी यात्रु भीडभाड हुने गर्दछ ।
यस विमानस्थलमा यात्रुको चाप बढेपछि ७२ सिटे एटीआर जहाजले सेवा विस्तार बुद्ध एयर तुम्लिङटारका स्टेसन म्यानेजर राम लुइँटेलले बताउनुभयो ।
विश्वकै पाँचौँ अग्लो हिमाल मकालु, अरुण तेस्रो जलविद्युत् आयोजना, पर्यटकका लागि छोटो दूरीको उडानका कारण यसअघि जहाजको टिकट पाउन समस्या भएको छ ।
तुम्लिङटार विमानस्थल धावनमार्गको लम्बाइ एक हजार चार सय २० मिटर लामो रहेको छ । ७२ सिटे जहाजबाट उक्त विमानस्थलमा उडान गर्दा जहाजको सञ्चालन खर्च कम हुने र बढी यात्रु बोक्दा हवाई भाडामा कमी आउने अपेक्षा गरिएको छ ।
तुम्लिङटार–काठमाडौँको भाडादर रु सात पाँच हजार छ सय ५० भाडा रहेको छ । ठूलो जहाजबाट उडान सुरु भएसँगै भाडादर घट्ने अनुमान गरिएको छ । |
गैंडाको खागसहित तीन जना पक्राउ काठमाडौं । ललितपुरबाट प्रहरीले गैंडाको खागसहित तीन जनालाई पक्राउ गरेको छ।
मंगलबार धादिङ घर भई नयाँबजार बस्ने २८ वर्षीय विरेन्द्र तामाङ, चितवन घर भई एकान्तकुना बस्ने २८ वर्षीय रोशन घिमिरे र २४ वर्षीय युवराज घिमिरेलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।
ललितपुर स्टिलटावर चोक नजिक गैंडाको खाग खरिदबिक्री हुँदैछ भनेर प्रहरीले सूचना पाएको थियो । सोही आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
पक्राउ परेका तीनै जनालाई अनुसन्धान तथा कारबाहीका लागि डिभिजन वन कार्यालय गोदावरी पठाइएको छ । |
साढे तीन महिना देखि बेपत्ता महिलाको शव फेला नुवाकोट । नुवाकोटमा साढे तीन महिनादेखि हराइरहेकी एक महिलाको शव फेला परेको छ ।
गत माघ १५ गतेदेखि हराइरहेकी विदुर नगरपालिका–२ बट्टारकी ५४ वर्षीय देवकी अधिकारीको विदुर नगरपालिका–१० केराघारीस्थित छत्तिवनडाँडामा मंगलबार शव फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । कपडा र झोलाको आधारमा उनको पहिचान खुलेको प्रहरीको भनाइ छ । |
राष्ट्रिय परीक्षा बोर्डद्वारा तीन केन्द्राध्यक्षलाई कारबाही काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षामा मर्यादाविपरीत कार्य गर्ने तीन केन्द्राध्यक्षलाई कारबाही गरेको छ ।
उक्त बोर्डले एक सूचना जारी गरी गत वैशाख २९ र ३१ गते सञ्चालन गरेको परीक्षामा मर्यादाविपरीत कार्य गरिएकाले एक जनालाई बर्खास्त गरिएकोे र अन्य दुई जनालाई सचेत गराएर छाडिएको जनाएको छ ।
काठमाडौँको मित्रपार्कस्थित टेक्सास इमावि परीक्षा केन्द्रमा मर्यादाविपरीत कार्य गर्ने केन्द्राध्यक्षलाई बर्खास्त गरिएको र मित्रपार्ककै कैलाशकुट बहुमुखी क्याम्पस तथा बौद्धस्थित कुमारी आवासीय माविका केन्द्राध्यक्षलाई परीक्षाको उचित वातावरण कायम गर्न नसकेको भन्दै सचेत गराएको जनाइएको छ ।
कक्षा १२ को वार्षिक परीक्षा गत वैशाख २६ गतेदेखि सञ्चालन भइरहेको छ । मोबाइलमार्फत प्रश्नपत्र खिचेर बाहिर पठाउने र त्यहीँबाट उत्तर लेखेर पठाउने गरिएकोे भन्दै विभिन्न ठाउँबाट सूचना सार्वजनिक भइरहेका छन् ।
सामाजिक सञ्जालमा अनधिकृत आइडी तथा पेज सिर्जना गरी गलत तथा भ्रमपूर्ण सूचनासमेत प्रवाह भइरहेको बोर्डले जनाएको छ । यस्तो भ्रम फैलाउने कार्य नगर्नसमेत सबैलाई बोर्डले उक्त सूचनामार्फत सचेत गराएको छ । |
गर्भवती बोकेको एम्बुलेन्स ट्रकमा ठोक्किदा ४ जना घाइते चितवन। गर्भवती बोकेको एम्बुलेन्स ट्रकमा ठोक्दिा चार जना घाईते भएका छन्।
नारायणगढ–मुग्लिङ सडक खण्ड अन्तरगर्त रामनगरमा सडकमा रोकिराखेको ना ७ ख ६४ नम्बरको ट्रकमा गर्भवती बोकेको एम्बुलेन्स ठोक्किदा चार जना घाइते भएका हुन्। उक्त एम्बुलेन्समा गर्भवती श्रृजना गौतम गोरखाबाट उपचारका लागि भरतपुर आउँदै थिइन्।
जिल्ला प्रहरी कार्यालय चितवन ट्रकमा ठोक्किएर घाइते भएका मध्ये एम्बुलेन्स चालक गोरखा, सुलिकोट गाउँपालिका– ६का एक बहादुर सुनार र गर्भवती श्रृजना गौतमको अवस्था गम्भिर रहेको छ भने गर्भवती गौतमको अनुहार र खुट्टामा गम्भिर चोट लागेको छ। उनका श्रीमान सुदिप गौतम मध्यम र मिना कोइराला भने सामान्य घाईते भएका छन्। उनीहरु सबैको उपचार चितवन मेडिकल कलेजमा भइरहेको छ।
थप अनुसन्धानका लागि ट्रक चालक हेटौँडा उपमहानगरपालिका– १९ का सुरज श्रेष्ठ प्रहरी नियन्त्रणमा छन्। |
सरकारी विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन, विद्यार्थीको चाप बढ्यो उदयपुर । विगतका वर्षमा निजी विद्यालयमा देखिने आकर्षण पछिल्लो समय सरकारी विद्यालयमा पनि देखिन थालेको छ । अंग्रेजी माध्यमबाट पठनपाठन हुन थालेपछि गाईघाटका सरकारी विद्यालयमा विद्यार्थीको आकर्षण देखिएको हो ।
पाँचरछ वर्षअघिसम्म नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठनपाठन सुरु गरेको सदरमुकाम गाईघाटको त्रियुगा नमुना, बालमन्दिर, अम्बेबरमावि राजाबास क्षेत्रका सरकारी विद्यालयमा विद्यार्थीको सङ्ख्या बढेको छ ।
त्रियुगा नमुना माविका प्रधानाध्यापक सुवास विष्टका अनुसार छ वर्ष अघिदेखि विद्यालयमा नेपालीसँगै अङ्ग्रेजीमाध्यममा पठनपाठन सुरु गरेकाले विद्यार्थीको सङ्ख्या बढेको हो ।
प्रत्येक कक्षामा अधिकतम ४० देखि ५० विद्यार्थीको कोटा निर्धारण गरी भर्ना अभियान सुरु गरेपछि अहिले एउटै कक्षामा भर्ना हुन आउने सङ्ख्या दुई सयदेखि तीन सयसम्म पुगेको विद्यालयका सहायक प्रधानाध्यापक भोला केसीको भनाइ छ ।
अंग्रेजी माध्यममा अध्यापन सुरु भएपछि पहाडी क्षेत्रका विद्यार्थी पनि आउन थालेको छ । बालमन्दिर मावि गाईघाट बोक्सेका प्रधानाध्यापक जङ्गबहादुर खड्काले भने, “पाँच वर्षदेखि अङ्ग्रेजी भाषामा पनि पठनपाठन सुरु गरेपछि बर्सेनि दोब्बरको सङ्ख्यामा वृद्धि भइरहेको छ ।”
उनका अनुसार पाँच वर्ष अगाडिसम्म एउटा कक्षामा मुस्किलले एक सय जना आउने गरेकोमा अहिले एउटै कक्षामा तीन सयदेखि पाँच सयसम्म विद्यार्थीले भर्नाका लागि आवेदन दिने गरेका छन् ।
त्रियुगा नगरपालिका–९ राजाबासको अम्बेबर माविमा पनि भर्नाका लागि आवेदन दिने विद्यार्थीको सङ्ख्या बढेको विद्यालयका शिक्षक दानबहादुर कटुवालले बताए।
सरकारी विद्यालयमा जनशक्ति, व्यवस्थापन, भौतिक सुधारसँगैे अङ्ग्रेजीमाध्यमबाट पठनपाठन सुरु भएपछि विद्यार्थी तथा अभिभावकको आकषर्ण बढेको त्रियुगा नगरपालिकाका प्रमुख वसन्तकुमार बस्नेतको भनाइ छ ।
उनका अनुसार अहिले सरकारी विद्यालयले विद्यार्थीका लागि विद्यालय बसको पनि व्यवस्था गर्नुका साथै प्राविधिक विषय पनि पठनपाठन सुरु गरिएको छ ।
जनतामावि लक्ष्मीपुरका शिक्षक हरिप्रसाद पराजुलीका अनुसार पछिल्लो समय सरकारी विद्यालयहरु पनि निजी विद्यालय जत्तिकै अब्बल बन्दै जाँदा आकर्षण बढेको बताउँछन्।
अहिले नगरभित्रका केही सरकारी विद्यालयमा कम्युटर शिक्षा, सिभिल इञ्जिनीयरिङ, कृषि, कानुनलगायतका विषय पनि अध्यापन हुन थालेको छ ।
“नया शैक्षिक सत्र सुरु हुनासाथ विभिन्न स्थानबाट विद्यार्थीहरु भर्ना हुन आउने गरेका छन्”, त्रियुगा नमुना माविका सहायक प्रधानाध्यापक विदुर खड्का भने, “धेरै विद्यार्थी भएपछि प्रवेश परीक्षा लिएर भर्ना गर्ने गरेका छौँ ।”रासस |
चट्याङ लागेर एकै परिवारका चार घाइते दैलेख। दैलेखमा चट्याङ लागेर एकै परिवारका चारजना घाइते भएका छन्।
डुङ्गेश्वर गाउँपालिका–२ लाँकुरीमा गए राति सुतिरहेका बेला चट्याङ लागेर २१ वर्षीय पारस विक, १६ वर्षीया हेमा विक, १७ वर्षीया पूर्णा विक र २० वर्षीया पुष्पा विक घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख किशोर लम्सालले जानकारी दिए।
घाइते चारैजनाको दैलेख अस्पतालमा उपचार भइरहेको छ। उनीहरुको राति नै उद्धार गरिएको थियो। चारैजना खतरामुक्त रहेको दैलेख अस्पतालका प्रमुख डा धर्मराज रेग्मीले बताए। |
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : वर्ष बित्यो, जहाज उडेनन् बुटवल । काठमाडौँपछिको पहिलो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई नै लक्षित गरेर निजी क्षेत्रले रु ६० अर्बभन्दा बढी लगानी गरेको बताउँछन् नेपाल उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्मा ।
होटलमा मात्र होइन, होटल निर्माणदेखि सेवा तथा पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न निर्माण सामग्री विक्रेता, साजसज्जाका सामान बिक्री गर्ने ठूला व्यावसायिक प्रतिष्ठानका साथै अन्य व्यवसायमा पनि यहाँ अर्बौँअर्बको लगानी भएको उनी बताउँछन्।
“विमानस्थल सञ्चालनमा आएपछि यसका कारणले मात्र दैनिक करिब २० हजार व्यक्तिको चहलपहल र चाप हुने हाम्रो आकलन थियो। यसको ठूलो आशाले यो क्षेत्र व्यावसायिक हव बनिसकेको पनि छ”, अध्यक्ष शर्मा भन्छन्, “तर पनि अहिले हामीले सोचेजस्तो गरी विमानस्थल सञ्चालनमा आउन सकेन, यसले त हामीलाई निराशा मात्र दिएको छ । यतिका धेरै लगानी डुब्ने त्रास दिनप्रतिदिन बढ्दो छ, तर हामी उद्योगी व्यवसायीसँग अरु कुनै विकल्प नै छैनन्।”
तर निजी क्षेत्र तथा यहाँका नागरिकको यो आशा र खुसी वर्ष दिन पनि टिकेन । आज विमानस्थल सञ्चालनमा आएको वर्ष दिन पुगेको छ । तर देशको अर्थतन्त्रको कम्तीमा पनि ८० प्रतिशत योगदान रहेको निजी क्षेत्रकै तर्फबाट यस्ता निराशा व्यक्त गर्नुपर्ने अवस्था आएको छ । विमानस्थल सोचेअनुसार सञ्चालनमा आउन सकेको छैन । यहाँ जहाज उडेका छैनन् । अक्कलझुक्कल विमान उडाएको अल जाजिराले पनि अहिले उडान रोक्ने सन्देश दिइरहेको छ ।
ऋणमा बनेको विमानस्थल सञ्चालनमा सरकारले पैरवी नगरेको गुनासो शर्माले गर्नुभयो । विमानस्थलमा निर्माणका लागि लगानी गरेको एडिबीले सम्भाव्यता अध्ययन नगरी लगानी गरेको होला भन्ने कल्पना त गर्न सकिँदैन तर किन लगानीअनुसार यो विमानस्थललाई पूर्णरूपमा सञ्चालनमा ल्याउन सकिएको छैन भन्ने कुरा बडो अन्योलपूर्ण रहेको उनको भनाइ छ ।
उनी भन्छन्, “एयररुटको कुरा, भारतीय अवरोधका कुरा सबै मिथ्या हल्ला मात्र हुन्, यस विषयमा बुझेर मात्र एडिबीले लगानी गरेको भन्नेमा हामी पूर्णरूपमा विस्वस्त छौँ”, शर्माले भन्नुभयो, “नेपाल सरकारले यसमा अग्रणी भूमिका निर्वाह गरेर यो समस्यालाई साम्य गर्नुपर्छ, विमानस्थल सञ्चालन गर्नुबाहेकको अर्को विकल्प छैन, हामीले सरकारसँग गर्ने माग पनि यही हो ।”
अध्यक्ष श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न भारत भ्रमणका क्रममा उहाँले भारतसँग दह्रोरूपमा कुरा उठाउन र यसलाई सञ्चालनमा ल्याउन ठोस पहल चाल्न सुझाव दिए। उनले भने, “मेरो यो सुझाव छ कि प्रधानमन्त्रीज्यूले आफ्नो भारत भ्रमण नै यही विमानस्थलबाट गर्नुहोस् र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्णरूपमा सञ्चालनमा ल्याउने अभियान थाल्नुहोस् ।”
अर्बौंको लगानी जोखिममा
विमानस्थल निर्माणसँगै भैरहवा तथा यस आसपासका क्षेत्रमा तारे होटल खुल्ने क्रम बढ्यो । विमानस्थललाई नै लक्षित गरी भैरहवा, लुम्बिनीलगायतका क्षेत्रमा साना–ठूला गरी एक सय ४६ वटा होटल सञ्चालनमा छन् । यिनीहरूमा करिब रु ३० अर्ब लगानी भएको सिद्धार्थ होटल एशोसिएशनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ बताउँछन् ।
यसबाहेक रु २० अर्ब बढीका २१ वटा होटल अहिले पनि निर्माणाधीन रहेको उनको भनाइ छ । “विमानस्थललाई नै लक्षित गरी गरिएका अर्बौँको लगानी अहिले विमानस्थल सञ्चालनमा नआउँदा डुब्ने खतरा बढेको छ”, श्रेष्ठले भने, “व्यवसायीहरूमा बैैंकको ब्याज तिर्न नसकेर तनाव बढ्दै गएको छ, कतिपय त पलायन हुने अवस्था आएको छ ।”
उनले विमानस्थल सञ्चालनका लागि क्षेत्रीयस्तरमा भन्दा पनि राज्यस्तरबाट पहल नभएको गुनासो गरे । “सबै ठीक छ, विमानस्थल पनि तयार छ, विदेशी विमानभन्दा पनि आफ्नै देशका विमानले पत्याउनुप¥यो”, उनले भने।
उनले पूर्वी एसियामा रहेका बौद्ध देशहरूबाट पर्यटक ल्याउने गरी सरकारले पहल गर्न आवश्यक रहेको औँल्याए। “हामीले पटक–पटक सम्बन्धित निकाय नागरिक उड्डयन प्राधिकरण, नेपाल सरकारसँग यी सब कुरा उठाएका हुन्छौँ”, उनले भने, “तर के–कति कारणले सञ्चालनमा आउन सकेको छैन, हामीले बुझेका छैनौँ ।”
भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि हवाई मार्गबाट यहाँ आउने पर्यटकका लागि केन्द्रमा राखेर बुटवलमा अर्बौको लगानीमा दुईवटा केवलकार निर्माणाधीन अवस्थामा छन् । बुटवलबाट पाल्पाको तिनाउ गाउँपालिका–३ वसन्तपुर पुग्ने केवलकार अब सञ्चालनको अन्तिम तयारीमा रहेको छ। कम्पनीले रु तीन अर्ब ५२ करोड लागत अनुमान गरिएको केवलकार तीन किलोमिटर लम्बाइको हुनेछ । केबलकारको बुटवल–३ बमघाटमा तल्लो स्टेशन र पाल्पाको तिनाउ गाउँपालिका–३ वसन्तपुरमा माथिल्लो अन्तिम स्टेशन छ ।
करिब तीन किलोमिटर लामो केवलकारपछि पुगिने वसन्तपुर डाँडामा पर्यटकलाई आकर्षित गर्न होटल, मनोरञ्जन पार्क तथा कामाख्यादेवीको मन्दिरसहितका संरचना निर्माण भइरहेका छन् । वसन्तपुरमा मनोरञ्जन पार्क, पिकनिक स्पट पनि रहने भएको छ ।
त्यस्तै सिद्धार्थ केवलकार प्रालिले बुटवलको मणि मुकुन्दसेन उद्यान फूलबारीबाट उत्तर–पूर्वपट्टिको देउरालीबाट पाल्पाको नुवाकोटगढीसम्म सञ्चालन गर्ने गरी निर्माणाधीन केवलकार पनि अन्तिम चरणमा पुगेको छ । केवलकारको लम्बाइ दुई किमी ९० मिटर रहने छ । करिब रु डेढ अर्बको लागतमा बन्न लागेको केवलकारमा ४० जनाको लगानी छ ।
रुट हैन समस्या
विमानस्थल प्रमुख हंशराज पाण्डेका अनुसार बाहिर हल्ला भएजस्तो रुटकै समस्याको कारण विदेशी विमान नआएको सत्य होइन । विमानलाई काठमाडौँभन्दा भैरहवाको विमानस्थलमा अवतरण गर्न सहज र कम खर्चिलो हुने पाण्डेको भनाइ छ ।
“सिमराबाट छिरेका विमानलाई काठमाडौँ जानुभन्दा सहज भैरहवा आउन हुन्छ । दूरीका दृष्टिले केही टाढा रहे पनि काठमाडौँजस्तो अवरोध यहाँ छैन”, पाण्डेले भने, “आकाशमा ट्राफिकका कारण विमान अवतरण हुन नसके यसले थप खर्च बढाउँछ, यहाँ त्यस्तो कुनै समस्या छैन ।”
लिमा–६२६ हुँदै बाहिर उड्ने विमानलाई भैरहवाबाट उड्दा पनि दूरी छोटिने उनको भनाइ छ । “यो कुरा पाइलटले पनि बुझेका हुन्छन्, त्यसकारण रुटकै कारण विमानस्थल नचलेको निराधार हल्ला हो”, पाण्डेले भने।
उनले लिमा–६२६ लाई दुइतर्फी गर्न सके यसले भैरहवा विमानस्थललाई थप सहज बनाउने बताए। भैरहवा आउने अन्तर्राष्ट्रिय विमानलाई भैरहवामाथिकै रुट दिए पनि विमानलाई तोकिएको उचाइकै कारण अवतरणका लागि आकाशमा फन्को लगाउनुपर्ने र यसले पनि उत्तिकै खर्च बढाउने पाण्डेको तर्क छ ।
विमानस्थल सञ्चालनका क्रममा हिउँद महिनामा समस्या आउने पाण्डेको भनाइ छ । जाडोमा यहाँको भिजीबिलिटी या त शून्य हुन्छ या राम्रै हुने गरेको छ । इन्स्ट्रमेन्ट लैन्डिङ्ग सिस्टम (आइएलएस)ले अवतरण गराउँदा पनि शून्य भिजीबिलिटीमा गराउन नसकिने उनको भनाइ छ ।
“अहिले नेपालका विमान पर्फमेन्स बेस नेभिगेशन (पिबिएन)मा उडान भरिरहेका छन्”, उनले भने, “आइएलएसले शून्य भिजीबिलिटीमा अवतरण गराउन सकिँदैन तर यसले पिबिएनलाई थप सहज भने बनाउँछ ।”
विमानस्थलको सुविधा एक वर्षलाई थप
भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय वायु सेवाहरूलाई आकर्षित गर्न अवतरण शुल्क, बिसान शुल्क, सञ्चार तथा उड्डयन सेवा शुल्क र सुरक्षा जाँच शुल्कमा पहिलो वर्ष शतप्रतिशत छुट प्रदान गरिएको थियो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक पाण्डेले यो सुविधा एक वर्षका लागि थप भएको जानकारी दिए।
विसं २०७९ जेठ १४ गते लागू भएको यो सुविधा यही १३ गते सकिँदै थियो । अब यो सुविधा २०८१ को जेठ १३ गतेसम्म उपभोग गर्न पाइने पाण्डेले बताउनुभयो । यसैगरी नेपाल वायुसेवा निगमले लिने ग्राउण्ड हयाण्डलिङ सेवा शुल्कमा ५० प्रतिशत छुट दिँदै आएको छ ।
विसं २०२१ मा घाँसे हवाई मैदानबाट सुरु भएको भैरहवाको विमानस्थल २०२३ सालमा आन्तरिक विमानस्थलका रूपमा हालको स्थानबाट सञ्चालनमा रहेको छ । विसं २०७१ माघ १ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास गर्नुभएको थियो । करिब रु ३५ अर्बको लागतमा निर्माण भएको विमानस्थलको गत वर्ष आजकै दिन तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुभएको थियो ।
करिब आठ सय बिघामा फैलिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीन किलोमिटरको रनवे रहेको छ । फोर ई क्याटोगरीको विमानस्थलमा नवौँ क्याटोगरीको दमकल रहेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सरहको उडान र अवतरण हुनसक्ने यहाँ चारवटा न्यारोबडी र एउटा वाइडबडी गरी पाँचवटासम्म अन्तर्राष्ट्रिय जहाज पार्किङ गर्न सकिन्छ।
प्रधानमन्त्रीलाई निजी क्षेत्रको ध्यानाकर्षण
विमानस्थल नियमित, डाइभर्ट भएका तथा आकस्मिक अवतरणको लागि पूर्णरूपमा तयार रहेको छ । २५६७औँ बुद्ध जयन्ती तथा लुम्बिनी दिवस २०८० मूल समारोहका सहभागी हुन वैशाख २२ गते लुम्बिनी आउनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लुम्बिनी क्षेत्रका उद्योगी व्यवसायीले भेटर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरूपमा सञ्चालनका लागि ज्ञापनपत्र नै बुझाए । उनीहरूले ज्ञापनपत्रमा प्रधानमन्त्री प्रचण्डको आसन्न भारत भ्रमणको सुरुआत गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुनुपर्ने मागसमेत राखेका छन् ।
प्रधानमन्त्री प्रचण्डलाई सिद्धार्थ उद्योग वाणिज्य सङ्घका प्रतिनिधिमण्डलले भेटी विमानस्थल पूर्णरूपले सञ्चालनका लागि ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा राष्ट्रिय ध्वजाबाहक जहाजको उडान नहँुदासम्म अन्य स्वदेशी तथा विदेशी विमान कम्पनी आकर्षित नभएकाले नेपाल वायुसेवा निगमका जहाजबाट सेवा सुरु गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
नेपाल वायुसेवा निगमबाट तत्काल भैरहवा–दिल्ली, भैरहवा–मलेसिया, भैरहवा–कतारको उडान सुरु गर्नुपर्ने र बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्वार यही भएकाले विश्वका सबै बुद्धिष्ट मुलुकहाई पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित वा चार्टर्ड उडानका लागि पहल गरिदिन प्रधानमन्त्रीसँग माग गरिएको छ ।
ज्ञापनपत्रमा लुम्बिनी क्षेत्रको पर्यटन सम्भावनादेखि होटल तथा पर्यटन व्यवसायमा रु ६० अर्ब बढी लगानी भइसकेकाले अन्तर्राष्ट्रिय उडान नियमित हुन नसक्दा पर्यटन क्षेत्रमा गरिएको लगानी असुरक्षित भएकाले सो लगानी सुरक्षित गराउने वातावरणका लागि पहल गर्नुपर्ने सङ्घले माग गरेको छ ।
वैकल्पिक विमानस्थल पनि बनाइएन
गत वर्ष फागुन १४ गते दिउँसो राजधानी काठमाडौँको मौसम खराब भयो । सोही समयमा भारतको नयाँ दिल्लीबाट काठमाडौँका लागि उडेको भिस्तारा एयरको विमान र दुबईबाट काठमाडौँ उडेको फ्लाइ दुबईको विमान खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन सकेनन् । त्रिभुवन विमानस्थलमा अवतरण हुन नसकेपछि दुवै विमान भारतको लखनउ ‘डाइभर्ट’ भए ।
यस्तै गत वैशाख ११ गते फ्लाई दुबईको विमान त्रिभुवन विमानस्थलबाट उडान भर्ने क्रममा इन्जिनमा आगलागी भयो । विमान चालकले नेपालमा तीनवटा अन्तर्राष्ट्रिय विमानस्थल भए पनि यहाँ अवतरणमा चासो देखाएनन् । विमान भैरहवाकै आकाश हुँदै आफ्नो गन्तव्यतर्फ लाग्यो । तर एक वर्षअघि सञ्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने प्रयास नै गरेनन् ।
नेपाल आउने अन्तर्राष्ट्रिय विमानले विमान डाइभर्ट गर्नुपरे वा आकस्मिक अवतरण गराउनुपरे नेपाली विमानस्थलभन्दा नेपाल बाहिरकै विमानस्थललाई पहिलो प्राथमिकतामा राख्ने गरेका यी उदाहरण घटना मात्र हुन् । नेपाल आउने प्रत्येक अन्तर्राष्ट्रिय विमानहरूले वैकल्पिक विमानस्थल चयन गर्नुपर्ने हुन्छ ।
प्रायः सबै विमानले वैकल्पिक विमानस्थलको रूपमा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई राख्ने गरेका पनि छन् । वैकल्पिक विमानस्थलमा परे पनि अहिलेसम्म यहाँ ‘डाइभर्ट’ भएको एउटा पनि विमान अवतरण भएका छैनन् ।
“हामी प्रत्येक दिन २४ घण्टा नै विमानस्थल तयार राखेका हुन्छौँ, सोहीअनुसार जनशक्ति पनि व्यवस्थापन गरेका हुन्छौँ”, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेले भने, “सबै पूर्वाधार हुँदाहुँदै पनि यहाँ विमान आउन रुचि देखाउँदैनन् ।”
विमानस्थल प्रमुख पाण्डेकै शब्दमा ‘बिजनेस’ नपाएका कारण विमान यहाँ आउन रुचि नदेखाएका हुन् । विमानस्थलमा डाइभर्ट भएर आउने विमान र यसका यात्रु विभिन्न सुरक्षा एवं प्राविधिक जाँचबाट गुज्रिनुपर्ने उनको भनाइ छ । “ठूला विमानमा तीन सय बढी यात्रु रहेका हुन्छन्, यी यात्रुलाई तारे होटलमा राख्नुपर्ने हुन्छ, यसका लागि होटलसँग कम्पनीले सम्झौता गरेका हुन्छन्”, पाण्डेले भन्नुभयो, “भैरहवाको हकमा अहिलेसम्म कुनै होटलसँग यस किसिमको सम्झौता भएको मेरो जानकारीमा छैन ।”
भैरहवा विमानस्थलमा आकस्मिक उडान गरेर राति होल्ड हुनुप¥यो भने यात्रुलाई कहाँ राख्ने, चालकदलका सदस्यलाई कसरी व्यवस्थापन गर्ने र दोस्रो दिन उडान गर्नुअघि विमान जाँच कसले गर्ने भन्ने विषय निश्चित नभएकाले पनि विमान यहाँ आउन नचाहेको जानकारहरू बताउँछन् । भैरहवा विमानस्थल नियमित सञ्चालन भएर सहजै यस्ता सुविधा प्राप्त नहुँदासम्म काठमाडौँमा अवतरण हुन नसकेका विमान भैरहवामा अवतरण गराउन सकिँदैन ।
यसबाहेक नेपाल–भारतमा इन्धनको मूल्यमा रहेको असमानताले पनि डाइभर्ट उडान भैरहवामा अवतरण गराउन बाधा गरेको छ । नेपालको तुलनामा भारतमा हवाई इन्धनको मूल्य धेरै सस्तो छ । नेपालमा हवाई इन्धनको मूल्य एक हजार तीन सय ६० डलर प्रतिहजार लिटर रहेको छ भने भारतमा सोही परिमाणको इन्धनको मूल्य नौ सय ९८ डलरमात्र रहेको छ । ठूलो परिमाणमा इन्धन राख्ने विमानलाई भारतको इन्धनको कारण लाखौंरुपैयाँ बचत हुने भएकाले पनि उनीहरुको रोजाइमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पर्दैन ।
विमानस्थल प्रमुख पाण्डेका अनुसार पाइलटले जहाज जहाँ लैजान्छु भन्छ त्यही जान पाउँछ, हामीले गौतमबुद्ध नै आउँ भन्न मिल्दैन । दूरी र समयको हिसाबले लखनउभन्दा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निकै नजिक पर्छ । तत्कालको अवस्थामा विदेशी एयर कम्पनीका जहाजले मात्रै होइन नेपाल एयरलाइन्सका जहाजले समेत काठमाडौँबाट डाइभर्ट भएका जहाज गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सट्टा लखनउ नै लैजाने गरेका छन् ।
जहाज डाइभर्ट भएर गौतमबुद्धमा अवतरण भएपछि पुनः उडानका लागि इञ्जीनियर चाहिन्छ । त्यो सम्बन्धित कम्पनीले नै व्यवस्थापन गर्नुपर्ने हुन्छ । तर कि त गौतमबुद्धबाट उडान गरिरहेका एयरलाइन्स कम्पनीसँग इञ्जीनियरका लागि कम्पनीले सम्झौता गर्नुपर्छ, अन्यथा त्यस किसिमको प्राविधिक जनशक्ति आफैँ व्यवस्था गर्नुपर्ने हुन्छ । अहिलेसम्म गौतमबुद्ध विमानस्थलबाट उडान गरिरहेको जजिरा एयरसँग उनीहरूको सम्झौता नभएका कारण पनि यहाँ अवतरण नगरेको हुनसक्ने विमानस्थलका कर्मचारीहरू बताउँछन् ।
आफ्नो इञ्जीनियर नभएको ठाउँमा जहाज अवतरण गरेको अवस्थामा पुनः उडान गर्न नपाउने हुँदा जहाज त्यहीँ रोकिने र त्यसका लागि लामो प्रक्रिया हुने हुँदा सहजताका लागि लखनउनै रोज्ने गरेका जानकारहरू बताउँछन्। भरत केसी र राधेश्याम विश्वकर्मा/ रासस |
रोमानिया पठाइदिन्छु भन्दै १८ लाख ठगी गर्ने ३४ वर्षीय व्यक्ति पक्राउ काठमाडौँ। रोमानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाग्लुङ नगरपालिका-७ घर भई हाल काठमाडौं जिल्ला टोखा नगरपालिका ९ जाल्पाचोक बस्ने ३४ वर्षीय विशाल विश्वकर्मा रहेका छन्।
उनलाई काठमाडौं अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले काठमाडौंको लाजिम्पाटबाट पक्राउ गरेको हो। विश्वकर्मालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ।
उनले डिलबहादुर विश्वकर्मासहित ८ जनालाई वैदेशिक रोजगारीका लागि रोमानिया पठाइदिन्छु भन्दै पीडितबाट प्रतिव्यक्ति ५ लाख ५० हजारका दरले १८ लाख रकम लिएर सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ। |
सयपत्री फूलको व्यावसायिक खेतीबाट मनग्ये आम्दानी गल्याङ। स्याङ्जाको गल्याङ नगरपालिका-५ रुपाखानीका चन्द्रबहादुर राना ‘चित्र’ले सयपत्री फूलको व्यावसायिक खेतीबाट मनग्ये आम्दानी गरेका छन्। गल्याङमा सयपत्री फूलखेती गर्ने एक्लो कृषकको पहिचान बनाएका उनी तीन वर्षदेखि यो पेसामा आबद्ध छन्। अत्यधिक माग हुन थालेपछि उनले व्यावसायिकरूपमा सयपत्री फूलको खेती गर्दै आएका हुन्।
रानाले स्याङ्जासहित पाल्पा, पर्वत, कास्कीलगायतका जिल्लामा वार्षिकरूपमा रु दुई लाख बराबरको सयपत्री फूल निर्यात हुने गरेको जानकारी दिए। “सिजनमा मासिक रु २० देखि ३० हजार बराबरको फूल तथा माला बिक्री हुन्छ”, उनले भने, “अफसिजनमा पनि विभिन्न संघसंस्थाको कार्यक्रम, पूजाआजाका लागि मासिक रु १५ देखि २० हजारको फूल तथा माला बिक्री हुने गरेको छ।”
सुरुमा आफ्नै घर रुपाखानीमा फूलखेती गरेका उनले कारोबार राम्रो भएपछि दुई वर्षयता गल्याङ नगरपालिका-३ छर्तिमा १२ रोपनी जग्गा भाडामा लिएर सयपत्री फूलको खेती गरेका छन्। सयपत्री फूलको बजार राम्रो पाएपछि हौसिएका रानाको दिनचर्या बिहान ५ बजेदेखि साँझ आँखा देखुन्जेल फूलबारीमै बित्छ।
परम्परागतरूपमा खेती गर्दै आए पनि व्यावसायिक र बेमौसमीरूपमा सयपत्री फूलखेती नगरेको उनले सामाजिक सञ्जाल र कृषि विज्ञको सल्लाहमा काम गर्न सिकेको बताए। रुपाखानीमा खेती गर्दा परिवारको साथ पाएका उनले छर्तिमा भने एक्लै काम गर्छन्।
“कहिलेकाहीँ काम धेरै भएका बेला ज्यालामा पनि खेतला लगाउने गरेको छु”, उनले भने, “एक्लै भए पनि काम गर्न आनन्द लाग्छ, ढकमक्क फुलेका फूलको सुगन्धले एक्लोपनको आभास नै गराउँदैन।”
रानाले विवाह, पूजा, विभिन्न संघसंस्थाको औपचारिक तथा अनौपचारिक कार्यक्रममा उत्पादन गरेको सयपत्री फूलको माला खपत हुने गरेको बताए। उनले अन्य जिल्लाबाट गल्याङमा सयपत्री फूल निर्यात हुने गरेको भन्दै त्यसलाई निरुत्साहित गर्न व्यासायिक फूलखेती सुरु गरेको बताए।
“गल्याङ नगरपालिकाका विभिन्न स्थानमा बाँदरले कृषकलाई आतंकित बनाएको छ”, उनले थपे, “फलफूल, तरकारी खेती पनि गरेँ तर बाँदरले रहन दिएन, बाँदरले नबिगार्ने भएपछि सयपत्री फूलखेतीतर्फ आकर्षित भएको हुँ।”
उनले आफ्नो खेतमा उत्पादित फूलले बजारको माग पूरा गर्न नसकेको बताए। गल्याङमा कृषक फूलखेतीतर्फ आकर्षित नभएकाले बजारीकरणमा समस्या नभएको दाबी गरे। उनले गल्याङमा सयपत्री राम्रो उत्पादन हुने भन्दै हब नै बनाएर अन्यन्त्र जिल्लामा निर्यात गर्न सकिने जानकारी दिए।
“व्यवसायलाई विस्तार गर्ने योजना बनाएको छु, अहिलेसम्म कुनै पनि निकायले अनुदान दिएका छैनन्, बैंकमा ऋण खोज्दा नपाउने स्थिति छ। उनले दुःखेसो पोखे, “प्रशस्त बजार भएर पनि लगानी अभावमा व्यवसाय विस्तार गर्न सकेको छैन।”
गल्याङ नगरपालिकाका कृषि शाखा प्रमुख शिव ढकालले चन्द्रबहादुर राना गल्याङका एकमात्र सयपत्रीको व्यावसायिक फूलखेती गर्ने कृषक भएकाले प्राविधिक सहयोगका साथै उपयुक्त सल्लाह दिने गरेको बताए।
यस्तै गल्याङ नगरपालिकाका प्रमुख गुरुप्रसाद भट्टराईले रानाको गल्याङमा सफल कृषकको पहिचान भएकाले नगरपालिकाले अनुदानलगायतका कार्यक्रम सहयोग गर्ने योजना बनाएको बताए। रानाको सयपत्रीको फूलबारीमा सर्वसाधारण फोटो खिच्न र टिकटक बनाउनसमेत पुग्ने गरेका छन्। रासस |
आजको मौसमः मुलुकका पहाडी भू-भागमा पानी पर्ने संभावना काठमाडौं। हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। गण्डकी प्रदेशको पहाडी भू-भागको एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।
दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भू-भागका केही स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ र हावाहुरीसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। पूर्वी तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ।
राति भने कोशी प्रदेश लगायत बागमती प्रदेश, गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङ र हावाहुरीसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।
कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भू-भागका केही स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ र हावाहुरीसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहनुका साथै पूर्वी तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको हुनाले त्यसबाट हुन सक्ने क्षति र जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुराेध गरेकाे छ। |
आजदेखि कामपामा नक्सा स्वीकृत अनलाइन प्रणालीमार्फत काठमाडौं। काठमाडौँ महानगरपालिकाले आजदेखि भवन नक्सा स्वीकृति प्रक्रिया अनलाइन प्रणालीबाट सुरु गरेको छ ।
यसअघि नक्सा स्वीकृति फाराम भर्नका लागि कार्यालय जानुपर्ने, हार्ड कपी बुझाउनुपर्ने अवस्था थियो । नागरिकलाई सहज बनाउनकै लागि विगत गरिँदै आएको शैली बन्द गरी अनलाइन प्रणालीबाट उक्त सेवा आजदेखि सुरु गरिएको कामपाका सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिए ।
उक्त कार्यका लागि इलेक्ट्रोनिक बिल्डिङ परमिट सिस्टम (इबिपिएस) प्रणाली अद्यावधिक गरिएको छ । यो प्रणाली भवन नक्सा पास गर्ने कामलाई व्यवस्थित बनाउने अनलाइन प्रणाली हो ।
उक्त प्रणालीबाट नै नक्सा स्वीकृति हुने कामपाले जानकारी दिएको छ । नक्सा पास गर्दा, नामसारी गर्दा तथा निर्माण सम्पन्न प्रमाणपत्र लिँदा यसअघि अनलाइनमा राखिएका कागजपत्रको फाइल बोकेर जानुपर्ने अवस्था रहेको थियो ।
विसं २०७० भदौ १६ गतेदेखि कामपाले कागज पनि हुनुपर्ने गरी अनलाइन प्रणाली सञ्चालन थालेको थियो । फाइलमा भएका कागज र प्रणाली भिडाएर प्रक्रिया अगाडि बढाइन्थ्यो ।
अनलाइन प्रणालीलाई विकास गर्दै विद्युतीय हस्ताक्षर, अनलाइन राजस्व दाखिला, गुनासो तथा मर्कासम्बन्धी उजुरीसहितको बनाएपछि काजगरहित सेवामा रूपान्तरण गरिएको सूचना अधिकारी आचार्यले जानकारी दिए ।
यो प्रणालीजस्तै सेवाग्राहीको हातहातमै सेवा दिने, जहाँबाट पनि सेवा लिन सकिने एकीकृत विद्युतीय सुशासन प्रणालीको व्यवस्था गरिएको कामपाको भनाइ छ ।
सहज, सरल र पहुँचयुक्त सेवाका लागि सेवा प्रवाहसँगै कर प्रणाली, आकस्मिक सेवा, विभिन्न प्रकारका सिफारिस लिनेजस्ता महत्त्वपूर्ण काम इन्टरनेट भएको मोबाइल र कम्प्युटरमा प्राप्त हुने बताइएको छ ।
्भवनको नक्सा पास प्रक्रियालाई सरल, सहज र पारदर्शी बनाउन विद्युतीय भवन अनुमति प्रणाली (इलेक्ट्रोनिक बिल्डिङ परमिट सिस्टम–इबिपिएस) लाई थप प्रभावकारी बनाउन आवश्यक प्रबन्ध मिलाइनेछ । डिजिटल सिग्नेचरलाई आगामी वर्षदेखि कार्यान्वयनमा ल्याइने कामपाको भनाइ छ ।
कामपाको सेवालाई अटोमेसन (स्वचालित प्रणाली) मा आबद्ध गराउँदै लैजाने क्रममा यो एउटा महत्त्वपूर्ण कामको थालनी भएको आचार्यले बताए। यसअघि वैशाख १ गतेदेखि पाँच हजार वर्गफिटसम्म क्षेत्रफल भएको भवनको नक्सा स्वीकृत गर्ने अधिकार वडालाई दिइसकिएको छ । |
भूकम्प गएको दशक बित्न थाल्यो, अझै हटेन टेको काठमाडौं। पाटन दरबार क्षेत्र आसपासमा केही परम्परागत घर र केही सांस्कृतिक सम्पदाहरू टेकोको भरमा अडिएका छन्। कलात्मक शैलीमा निर्माण गरिएका पुराना घरहरूको तस्बिर विदेशी पर्यटकहरूले अवलोकन गर्दै फोटो खिचिरहेको पनि देख्न सकिन्छ।
मङ्गलबजार, गाबहाललगायतको क्षेत्र आसपमासमा ऐतिहासिक घरहरूलाई २०७२ को भूकम्पपछि टेको लगाइएको छ। कलात्मकरूपमा निर्माण गरिएका घरहरूमा परेवा र भँगेराले गुँड बनाएका छन्।
राणाकालीन समयमा निर्माण गरिएका सांस्कृतिक सम्पदा तथा परम्परागत घरहरूलाई विसं १९९० को भूकम्पले केही क्षति गरेको थियो। विसं २०७२ को भूकम्पले क्षति पुर्याएको एक दशक बित्न लागिसक्यो तर पनि घरहरूलाई टेकोको भरमा जबर्जस्ती अड्याइएको छ।
ललितपुर महानगरपालिका तिछुँ गल्ली जोम्बाहालका स्थानीयवासी ८३ वर्षीय जुलमला चित्रकार भन्छन्, “बाजेको पालामा निर्माण भएका घरहरू निकै बलिया हँुदारहेछन्। ७२ सालको भूकम्पका कारण धेरै घरहरू ढले पनि परम्परागत घरहरू ढलेनन्। अहिले मेरो घरलाई पनि टेकोकै भरमा अड्याएको छु। दिनप्रतिदिन जीर्ण बन्दै गएको घर कतिखेर ढल्छ पत्तो नहुने भएकाले म अहिले अर्को घरमा बस्छु। यो पुरानो घरमा कोही बस्दैन रित्तो छ।”
दिनप्रतिदिन परम्परागत संरचनाहरू भत्काएर नयाँ संरचना निर्माण हुँदैछन् भन्दै उनले यस्तो क्रम निरन्तर बढ्दै जाने हो भने नेवार समुदायको कलात्मक शैलीमा निर्माण भएका घरहरूलाई कुनै दिन म्युजियममा खोज्नुपर्ने बताए। सरकारले परम्परागत घरहरूको संरक्षण र त्यसको उचित व्यवस्थापन गर्न नसकेकामा चित्रकारले दुःखेसो पोखे।
सरकारले भूकम्प पीडितका लागि भनेर केही रकम अनुदान दिने निर्णय गरेको तर सरकारले दिएको थोरै रकमले घर भत्काउनु मात्र समाधान नभएका कारण भूकम्पको अनुदानसमेत नलिएको पाटनका अर्का स्थानीयवासी अरुण बज्राचार्यले बताए।
बज्राचार्यले भने, “पाटन क्षेत्र आसपासका विभिन्न गल्लीमा धेरै यस्ता घर छन् । ती घर प्रायः टेकोकै भरमा अडिएका छन् । नयाँ घर निर्माण गर्नका लागि आर्थिक अभाव, र अंशबन्डाका लागि झन्झटिलो भएका कारण अहिलेसम्म यी घर टेकोकै भरमा भए पनि अडिएका छन् ।”
दिनप्रतिदिन जीर्ण बनेका कलात्मक घरहरू कतिपयले कोठा भाडामा दिएका छन् भने कतिपयका घर पानी चुहिएर बस्नसमेत नमिल्ने भएका छन् । इतिहास बोकेका सांस्कृतिक सम्पदा र परम्परागत घरहरूलाई कसरी जगेर्ना गर्ने भन्ने विषयमा स्थानीय नेवार समुदायलाई चिन्ता छ । |
नक्कली भूटानी शरणार्थी प्रकरणका मूल दोषीलाई कारबाहीको मागसहित देशव्यापी अभियान काठमाडौं। मानव अधिकार तथा शान्ति समाजले नक्कली भूटानी शरणार्थी प्रकरण राष्ट्रिय अस्मितामाथि घात हो भन्दै यसका मूल दोषीमाथि कारबाहीको मागसहित देशव्यापी अभियान प्रारम्भ गरेको छ ।
‘नक्कली भूटानी शरणार्थी प्रकरणका मूल दोषीलाई कारबाही गर, सुशासनको प्रत्याभूति, आर्थिक पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर, मानव अधिकारमैत्री ऐन बनाऊः सङ्क्रमणकालीन न्याय प्रक्रियालाई टुङ्गोमा पु¥याऊ’ भन्ने आह्वानसहित समाजले आज काठमाडौँको माइतीघरमा प्रदर्शन गरेको हो ।
प्रदर्शनमा ‘ठूला नेता मिलेकाः अरब अरब निलेका’, ‘शीर्ष नेताको सम्पत्ति छानबिन गर’, ‘शीर्ष नेता भ्रष्ट छन्ः नेपाली जनता त्रस्त छन्’, भ्रष्टाचारको धमिराले देश खोक्रो भइसक्यो, भ्रष्टाचार हटाऊः लोकतन्त्र बचाऊ, भ्रष्टाचारले लोकतन्त्रलाई कमजोर बनाउँछ, भ्रष्टाचार लोकतन्त्रका लागि सबैभन्दा ठूलो खतरा हो, लोकतन्त्रको सबैभन्दा ठूलो शत्रुः कुशासन र दण्डहीनता, नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न शीर्ष नेताहरूसहित सबैलाई कारबाही गर लेखिएका प्लेकार्ड र ब्यानर प्रदर्शन गरिएको थियो ।
एक घण्टासम्म भएको प्रदर्शनमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले प्रमुख दलका शीर्ष नेताको गलत आचरणका कारण लोकतन्त्र र देश सङ्कटमा पर्न थालेको बताउँदै प्रमुख दलका शीर्ष नेताको तत्काल सम्पत्ति छानबिन हुनुपर्नेमा जोड दिए।
प्रदर्शनमा पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल, प्रजातान्त्रिक विचार समाजका अध्यक्ष डा केदारनरसिंह केसी, शान्ति समाजका सभापति रामकृष्ण बराल, सल्लाहकार उत्तम पुडासैनीले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा स्रष्टाहरू अर्जुन पराजुली, रामेश्वरी पन्त र धीरेन्द्र प्रेमर्षिले नक्कली भूटानी शरणार्थी प्रकरणका मूल दोषीलाई कारबाहीको माग गर्दै कविता प्रस्तुत गरेका थिए ।
प्रदर्शनमा सत्याग्रही डा गोविन्द केसी, शान्ति समाजका पूर्वसभापतिहरू होमकान्त चौलागाईं र डा गङ्गाधर अधिकारी, पदाधिकारी कृष्णबहादुर रावल, रामप्रसाद जोशी, चन्द्रमणि बञ्जारा, किरण ढकाल, नम्रता खरेल, दिवाकर पुडासैनी, अधिकारकर्मीहरू रत्नलक्ष्मी श्रेष्ठ, बलबहादुर गाहा मगर, जगन्नाथ पुडासैनी, विमल अर्याल, गीता तिमल्सिना, उमा गौतम, भगवान पुडासैनी, प्रमोद फुयाल, ईश्वर पुडासैनी, जयराम पुडासैनी, नानिकाजी गिरी, विकास थापा, रमेश बराल, रुपा गिरी, शर्मिला बोेगटी, रोज विष्टसहितका अधिकारकर्मीको सहभागिता थियो । |
धनगढीबाट स्रोत नखुलेको ९ लाख भारुसहित दुई युवक पक्राउ धनगढी । धनगढीमा स्रोत नखुलेको ९ लाख भारतीय रुपैयाँ नेपाली (१४ लाख ४० हजार)सहित दुई युवक पक्राउ परेका छन् । अस्थायी प्रहरी पोष्ट बसपार्कका प्रहरी सहायक निरीक्षक निरीक्षक गजेन्द्रबहादुर चन्द नेतृत्वको टोलीले धनगढी उपमहानगरपालिका–४ शहीदगेटबाट दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१० जुगेडाका २८ वर्षीय विजय राना र २९ वर्षीय अक्षय राना रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउँदले बताए । धनगढीका एक व्यवसायीबाट स्रोत नखुलेको रकम लिएर मोटरसाइकलमा जुगेडातर्फ गइरहेको विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको साउँदले बताए ।
उनकाअनुसार उनीहरूको साथबाट ९ लाख भारतीय रुपैयाँ ९पाँच सय दलका १८ सय नोट० र ४१ हजार (पाँच सय दलका ८२ नोट) नेपाली रुपैयाँ बरामद गरिएको छ । दुवै जनाको साथबाट प्रहरीले कुल नेपाली १४ लाख ८१ हजार रुपैयाँ बरामद गरिएको जनाएको छ ।
पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । उनीहरूलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान विभाग नेपालगञ्जमा बुझाइने प्रहरीले जनाएको छ । |
दशगजा खाली गराउन नेपाल-भारतका सीमावर्ती प्रशासकहरू सहमत झापा। भारतसँग सीमा जोडिएको झापा र मोरङ जिल्लाको दशगजा क्षेत्रलाई खाली गराउन र ढलेका सीमास्तम्भहरू मर्मतसम्भार गर्न दुवै देशका सीमावर्ती जिल्लाका प्रशासकहरू सहमत भएका छन् ।
नेपाल–भारत सीमावर्ती जिल्ला समन्वय समिति (बिडिसिसी)को आज भारतको किसनगञ्जमा सम्पन्न बैठकमा दशगजा क्षेत्रमा रहेका खेतीपाती र घरटहरा हटाउने सहमति भएको हो ।
बैठकमा नेपाली टोलीको नेतृत्व मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादव र भारतीय टोलीको नेतृत्व विहार प्रान्तको किसनगञ्ज जिल्लाका मजिस्ट्रेट श्रीकान्त शास्त्रीले गरेका थिए।
बैठकपश्चात् जानकारी दिँदै किसनगञ्जका जिल्ला मजिस्ट्रेट शास्त्रीले दुवै देशको सीमाको दशगजा क्षेत्र अतिक्रमणमुक्त गराउने विषयमा सहमति भएको बताए ।
उनले नदीले बगाएका, पुरेका र हराएका सीमास्तम्भहरूको खोजी गरी यथास्थानमा पुनःस्थापना गर्नेसमेत सहमति भएको जानकारी दिए। उनले भने, “दशगजा क्षेत्र खाली गराउने र क्षतिग्रस्त सीमा स्तम्भहरूको मर्मत गर्न हामी दुवै देशका जिल्ला प्रशासकहरु सहमत भयौँ ।”
यसैगरी, बैठकमा नेपाली टोलीको नेतृत्व गर्नुहुने मोरङका प्रमुख जिल्ला अधिकारी यादवले दुवै देशका सीमा क्षेत्रका अधिकारीबीच १४ वटा विषयमा सौहार्दरूपमा छलफल भएको बताए।
उनले हात्ती आतङ्क, लागूऔषधको कारोबार, मानव तस्करी, चोरी निकासीलगायतका महत्त्वपूर्ण विषयमा नियन्त्रणका लागि भारतीय पक्षलाई नेपालका तर्फबाट आग्रह गरिएको जानकारी दिए ।
“सीमा क्षेत्रमा भइरहेका समस्याका बारेमा हामीले भारतीय पक्षको ध्यानाकर्षण गरायौँ”, प्रजिअ यादवले बैठकका विषयमा भने, “हात्ती आतङ्क, लागूऔषधको कारोबार, मानव बेचबिखन, चोरी निकासी जस्ता आपराधिक घटना नियन्त्रणमा सहकार्य गर्न उहाँहरू सहमत हुनुभयो ।”
बैठकमा भारतीय पक्षबाट सीमा क्षेत्रमा हुनसक्ने आतङ्ककारी गतिविधि, हतियार तस्करी, नक्कली नोट, मदिरा र गाईवस्तु तस्करीलगायतका समस्याको समाधानका लागि नेपाली पक्षको ध्यानाकर्षण गराइएको थियो ।
सीमा क्षेत्रमा सवारी साधनको नियमित चेकजाँच, अपराधी पक्राउका लागि सूचनाको आदानप्रदान गर्ने विषयमा समेत बैठकमा छलफल भएको झापाका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले बताए ।
सशस्त्र सीमा बल (एसएसबी)को १९औँ बटालियनको ठाकुरगञ्जस्थित कार्यालयमा उक्त बैठक भएको थियो । बैठकमा नेपाली पक्षबाट झापाका सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपाल, मोरङका सहायक प्रजिअ शरदकुमार पोखरेल, सशस्त्र प्रहरी बलको २ नं गणका गणपति देवराज अर्याल, झापाका प्रहरी उपरीक्षक रेग्मी, मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेललगायतको सहभागिता रहेको थियो ।
भारतीय पक्षबाट बैठकमा किसनगञ्जका सहायक डिस्ट्रिक्ट मेजिस्ट्रेट एके गुप्ता, एसएसबीको ४१औँ बटालियन कमान्डर एससी नागी, १९औँ बटालियन कमान्डर मधुकर अमिताभ, अररियाका वन विभागका अधिकारी नरेश प्रसादलगायतको सहभागिता रहेको थियो ।
भारतसँग झापाको एक सय १८ किलोमिटर र मोरङको ५३ किलोमिटर सीमा क्षेत्र रहेको छ । |
रोमानिया पठाइदिन्छु भन्दै १८ लाख ठगी गर्ने व्यक्ति पक्राउ काठमाडौं । रोमानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाग्लुङ नगरपालिका–७ घर भई हाल काठमाडौं जिल्ला टोखा नगरपालिका ९ जाल्पाचोक बस्ने ३४ वर्षीय विशाल विश्वकर्मा रहेका छन् ।
उनलाई काठमाडौं अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले काठमाडौंको लाजिम्पाटबाट पक्राउ गरेको हो । विश्वकर्मालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।
उनले डिलबहादुर विश्वकर्मासहित ८ जनालाई वैदेशिक रोजगारीका लागि रोमानिया पठाइदिन्छु भन्दै पीडितबाट प्रतिव्यक्ति ५ लाख ५० हजारका दरले १८ लाख रकम लिएर सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ । |
मेलम्ची खानेपानी वितरण जेठ ५ गतेदेखि बन्द हुने सिन्धुपाल्चोक। मेलम्ची खानेपानी वितरण यही जेठ ५ गतेदेखि मात्र बन्द हुने भएको छ।
मर्मतका लागि सोमबारदेखि दुई हप्ता बन्द गर्ने भनिएकामा सरोकारवालाहरूको सुझावअनुसार पाँच दिनपछि मात्र मर्मतको काम सुरु गरिने मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले जानकारी दिए। उनका अनुसार दुई हप्ता जति मर्मत कार्य भएपछि पुनः पानी पठाइने छ।
हेलम्बु–१ स्थित आयोजनाको मुहान तथा हेडवर्क्समा केही उपकरण जडान तथा मर्मतसम्भार गर्नुपर्ने भएकाले दुई हप्ताका लागि पानी वितरण बन्द हुने मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिए।
सामान्य बाढी आएको बेला आयोजना सञ्चालनमा नै राख्ने गरी अहिले उपकरण जडान तथा मर्मतसम्भार गर्न लागिएको उनले बताए। |
महिलालाई अश्लिल तस्बिर पठाएको आरोपमा एक जना पक्राउ काठमाडौं । महिलालाई अश्लिल तस्बिर पठाएर हैरानी दिएको तथा चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
स्याङ्जा पुतलीबजार नगरपालिका–३ घर भई ठमेल बस्ने ४८ वर्षीय नन्दलाल शर्मालाई साइबर ब्युरोले पक्राउ गरेको हो । उनलाई सोमबार पोखराबाट पक्राउ गरेको ब्युरो प्रवक्ता एसपी पशुपतिकुमार रायले जानकारी दिए ।
उनले एक महिलालाई सामाजिक सञ्जालबाट चिनजान गरी बैंकमा ऋण मिलाइदिन्छु भनेर भेटघाट गरी प्रलोभन समेत दिएको अनुसन्धानमा देखिएको छ ।
कुराकानी गर्दै पीडितलाई माया गर्ने भनेर विश्वासमा पारेर सँगै बसेका तस्बिरहरू गोप्य रूपमा खिचेर भिडिओ समेत खिचेका थिए । पछि आफूले बोलाउँदा नमानेपछि उनले तस्बिर, भिडिओ देखाएर हैरानी दिएको उजुरीपछि प्रहरीले पक्राउ गरेको हो ।
त्यस्तै, उनले ती तस्बिर र भिडिओहरू पीडित महिला, आफन्त एवं साथी भाइलाई समेत पठाएर चरित्र हत्या गरेको पाइएको प्रहरीले जनाएको छ ।
काठमाडौं जिल्ला अदालतबाट पाँच दिन हिरासतमा राख्न अनुमति लिएर अनुसन्धान थालिएको प्रहरीको भनाइ छ । |
मिडियाको सकारात्मक खबरदारी आवश्यकः सञ्चारमन्त्री शर्मा देउखुरी। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मिडियाले सकारात्मक रूपमा खबरदारी गरेमा सरकारलाई काम गर्न सहयोग पुुग्ने बताएकी छन्।
दाङ सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित रेडियो मध्यपश्चिम ९१ थोप्लो ४ मेगाहर्ज घोराहीको १७औँ स्थापना दिवसको अवसरमा आज आयोजित कार्यक्रममा उहाँले देशको विकास र सुशासनका लागि सबैको सकारात्मक साथ सहयोगको अपेक्षा सरकारले खोजेको बताइन्।
रेडियो सुन्ने र रेडियोको समाचारमा भर पर्नेको सङ्ख्या धेरै रहेको उल्लेख गर्दै मन्त्री शर्माले यसको सवलीकरणमा राज्यको ध्यान दिने विश्वास दिलाइन्।
राजनीतिक दलमा आबद्ध भई बेथिति गर्नेहरुका कारण अहिलेको व्यवस्थामाथि नै प्रहार गर्न खोज्नु सह्य नहुने उनको भनाइ थियो । “हामीले प्राप्त गरेका उपलब्धि बचाउँदै मुलुकको विकास र सुशासन कायम गर्न रेडियोले हिजोका दिनमा जसरी आफ्नो भूमिका सशक्त बनाएर लैजानुपर्छ”, उनले भनिन्, “एक जना नेता, कर्मचारी, मिडियाकर्मी, व्यक्तिको कमजोरी गल्तीलाई संस्थागत रूपमा जोडेर व्यवस्थामाथि नै नकारात्मक भाव पैदा गर्ने काम कोही कसैबाट गरिनुहुँदैन । यसमा रेडियो मध्यपश्चिमले तटष्ठ, निष्पक्ष र स्वतन्त्ररूपमा अघि बढ्नुपर्छ ।”
कार्यक्रममा रेडियोका संस्थापक अध्यक्ष नारायणप्रसाद शर्मो मिडियामा देखापरेको समस्याका बारेमा अब बृहत् समीक्षा आवश्यक भएको बताइन्। उनले सञ्चारको चरम उत्कर्ष विकासमा प्रवेश गरेको बेलामा मिडिया सवलीकरणमा लाग्न सुुझाव दिइन्।
नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले नागरिकको मिडियामा सहज पहुँच बनाउन सत्यतथ्य र वस्तुनिष्ठ रूपमा अघि बढ्न सक्नुपर्ने बताए ।
“रेडियोले हिजोका दिनबाट खेलेको भूमिकाले आम नागरिकमा सकारात्मक प्रभाव परेको छ । शान्ति प्रक्रिया, महाभूकम्प, प्रलय, बाढी पहिरो, विपद्जन्य घटनाहरूमा पनि रेडियोले सहजरूपमा सकारात्मक सूचना सम्प्रेषण गरेको छ”, उनले भने “मिडियाले बलियो खबरदारी गरेका कारण पछिल्लो समय सरकारले भ्रष्टाचारलगायत विषयले प्राथमिकता पाएका छन् । बेथितिका बारेमा कारबाहीअघि बढाउन सकेको छ । सञ्चारमाध्यमको सामाजिक आवश्यकताका रूपमा कालान्तरसम्म रहिरहनेछ ।”
प्रेस काउन्सिल सदस्य शरद अधिकारीले असहज परिस्थितिमा सबै निकायबीच सहकार्य आवश्यक रहेकोमा जोड दिए । विद्यमान अवस्थामा धेरै क्षेत्रले असहज वातावरण भोग्न बाध्य भएको हुँदा सरकारले देखापरेका समस्या समाधानमा गम्भीरतापूर्वक समीक्षा गर्नुपर्ने बताए। |
सहकारीको ३३ लाख चोरी गरी फरार रहेका दुई पक्राउ मनहरी। काभ्रेपलाञ्चोकको पनौतीस्थित सामुदायिक सहकारी संस्थामा चोरी गरी फरार रहेका मकवानपुरका दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ।
पनौती नगरपालिका–७ स्थित पनौती सामुदायिक सहकारी संस्थामा चोरी गरी रु ३३ लाख लिएर फरार भएकालाई मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
गएको वैशाख १७ गते सहकारीबाट रु ३३ लाख चोरी गरी फरार भएका मकवानपुरको इन्द्रसरोवर–५ बस्ने ३० वर्र्षीय अशोक रुम्बा र ३५ वर्षीय अकवर लामालाई विशेष सूचनाका आधारमा नियन्त्रणमा लिइएको मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले बताए।
उनीहरुको साथबाट नगद रु पाँच लाख ४५ हजार, एक नाले भरुवा बन्दुक र रडसमेत बरामद गरिएको कार्कीले बताए। उनीहरुलाई जिल्ल प्रहरी कार्यलय काभ्रेमा पठाइएको प्रवक्ता उनले बताए। – रासस |
नक्कली भुटानी शरणार्थी प्रकरण : आरजु र मञ्जुलाई किन पक्राउ नगरेको भन्दै काठमाडौँमा प्रदर्शन काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेपाली कांग्रेसका केन्द्रिय सदस्यहरु आरजु राणा र मञ्जु खाँडलगायतलाई किन पक्राउ नगरेको भन्दै प्रदर्शन भएको छ।
काठमाडौँमा आज नेकपा एमाले निकट राष्ट्रिय युवा संघ लगायत भातृ संस्थाहरुले गरेका भ्रष्टचार विराेधी प्रदर्शनमा नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकालाई हदैसम्म कारबाहीको माग गर्दै प्रदर्शन गरिएको हो।
उनीहरुले सरकारले जारी अनुसन्धानलाई टुंग्याउनु पर्ने भन्दै दबाब स्वरुप प्रदर्शन गरेको जनाएका छन्।
|
सबैभन्दा धेरै पटक सगरमाथा चढेको कामिरिता शेर्पाको रेकर्ड पासाङ दावा शेर्पाले बराबरी गरे काठमाडौं। नेपालका पासाङ दावा शेर्पाले सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गरेर कीर्तिमान बनाएका छन्।
आइतबार २६ औं पटक सगरमाथा आरोहण गर्ने उनी विश्वकै दोस्रो व्यक्ति बनेका छन्। ४६ वर्षीय पासाङ दावा शेर्पाले आइतबार स्थानीय समय अनुसार बिहान ९ बजे ८ हजार ८४९ मिटर अग्लो शिखरमा पुगेर नयाँ कीर्तिमान बनाएका हुन्।
यसअघि कामीरिता शेर्पाले २६ पटक सगरमाथा आरोहण गरिसकेका छन्। न्युजिल्याण्डका एडमन्ड हिलारी र उनका शेर्पा गाइड तेन्जिङ नोर्गेले सन् १९५३ मा पहिलो पटक सगरमाथा आरोहण गरेका थिए।
हाइकिङ कम्पनी इम्याजिन नेपाल ट्रेक्सका एक अधिकारीले पासाङ दावा हंगेरीका पर्यटकसँग सगरमाथा पुगेको बताए। तिनीहरू अहिले माथिबाट तल आउँदैछन् र राम्रो अवस्थामा छन्।
पासाङ दावा शेर्पाले इम्याजिन नेपालको सगरमाथा आरोहणको अघिल्लो कीर्तिमान बराबरी गर्दै इतिहास रचेका छन्।
४६ वर्षको उमेरमा पासाङले २६ औं पटक सगरमाथाको सफल आरोहण गरेको कम्पनीले जनाएको छ। उनले इमाजिन नेपाल ट्रेक्स एन्ड एक्सपिडिसनका कामीरिता शेर्पाको कीर्तिमान बराबरी गरेका छन्।
सगरमाथा आधार शिविर नजिकैको गाउँ पाङ्बोचेमा जन्मेका ४६ वर्षीय शेर्पा आरोहीले सन् १९९८ मा पहिलोपटक सगरमाथा आरोहण गरेका थिए। उनले सन् १९९९, २००२, २००३, २००४, २००८, २००९, २०११, २०१२, २०१६ र २०१७ मा सगरमाथा आरोहण गरिसकेका छन्।
उनले सन् २००१, २००७, २०१०, २०१३, २०१८, २०१९ र २०२२ मा एक पटकभन्दा बढी पटक सगरमाथा आरोहण गरेका थिए।
पासाङ दावासँगै युनाइटेड किंगडम, अमेरिका, हंगेरी, चीन र पाकिस्तानबाट इम्याजिन नेपालमार्फत ५ जना पर्यटक पनि सगरमाथाको चुचुरोमा पुगेका थिए। यी सबै व्यक्ति सिजनमा शिखरमा पुग्ने पहिलो अन्तर्राष्ट्रिय टोलीको हिस्सा बनेका छन्।
विश्वको सबैभन्दा अग्लो सगरमाथाको आरोहण आइतबार औपचारिक रुपमा सुरु भएको छ। हिमालयमा प्रतिकूल मौसमका कारण यस वर्षको आरोहण ढिलो खुलेको हो। पछिल्ला हप्ताहरूमा यहाँ भारी हिमपात रेकर्ड गरिएको छ।
यस वर्ष नेपालमा पर्वतारोहणमा रुचि राख्नेहरूको ठूलो सङ्ख्या देखिएको छ। पर्यटन विभागले ४ सय ७८ जनालाई परमिट दिएको छ, जुन अहिलेसम्मकै सबैभन्दा धेरै हो।
नेपालले यसअघि सन् २०२१ मा ४०९ वटा परमिट जारी गरेको थियो । एक वर्षपछि रुस-युक्रेन युद्ध र यस वर्ष आएको मन्दीको कारण यो संख्या घटेर ३२५ मा झरेको थियो। |
तोकिएभन्दा बढी पेट्रोल ढुवानी गर्ने ट्यांकर चालकलाई कारबाही काठमाडौँ। नेपाल आयल निगमले तोकिएभन्दा बढी पेट्रोल ढुवानी गर्ने ट्यांकर चालकलाई पेट्रोलियम पदार्थ ढुवानीमा रोक लगाएको छ।
निगमबाट २० हजार लिटर पेट्रोलको खरिद आदेश लिएको सो ट्यांकरले इण्डियन आयल कर्पोरेशन (आइओसी)बाट तोकिएको परिमाणभन्दा बढी पेट्रोल ल्याएको पाइएपछि निगमले ट्यांकरका चालक र सहचालकलाई निगमको सम्पूर्ण डिपोमा सधैँका लागि पेट्रोलियम पदार्थ ढुवानीमा बन्देज लगाइएको हो।
रुपन्देहीस्थित श्री एक्सप्रेस परिवहन सेवा प्रालिले सञ्चालनमा ल्याएको उक्त ट्यांकरलाई तीन महिनाका लागि निलम्बन गरिएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए। निगमले पेट्रोलियम चोरी पैठारीमा संलग्न ट्यांकरको ढुवानी भाडा रोक्का राख्ने र २० हजार लिटर पेट्रोलको रकम असुल गर्ने निर्णयसमेत गरेको छ।
लु२ख ४८३९ नम्बरको सो ट्यांकरले निगमसँग सम्झौता गरी बेतलापुर–भैरहवा रुटमा पेट्रोल ढुवानी गर्ने गरेको थियो। आइओसीबाट पेट्रोल ल्याउने क्रममा भैरहवा भन्सार कार्यालयमा जाँच गर्दा आइओसीबाट जारी भएको खरिद बिलमा उल्लेखित परिमाणभन्दा तीन हजार लिटर बढी पेट्रोल ढुवानी गरेको पाइएको थियो।
तोकिएभन्दा बढी पेट्रोल ढुवानी गरेको भेटिएसँगै उक्त ट्यांकरलाई भन्सार कार्यालयले नियन्त्रणमा लिइ पेट्रोल चोरीपैठारी कसुरमा कारबाही अगाडि बढाएको छ। नेपालमा भन्दा भारतमा पेट्रोलको मूल्य सस्तो भएकाले सो ट्यांकरले चोरीपैठारी गरेका हुनसक्ने निगमको अनुमान छ। – रासस |
उदयपुर सिमेन्ट उद्योगको विजुली काटियो, ३६ करोड बुझाउन बाँकी उदयपुर। उदयपुर सिमेन्ट उद्योगको बत्ति काटिएको छ। विद्युत प्राधिकरणलाई बुझाउनु पर्ने ३६ करोड बक्यौता नबुझाएपछि आइतबारबाट विद्युत काटिएको हो। विद्युत काटिएपछि उदपुर सिमेन्ट उद्योगको सञ्चालन नै अन्यौलमा परेको छ।
नियमित उत्पादन प्रक्रियामा जान नसकेको कारण २ अर्ब ९ करोड आर्थिक भार परिरहेको बेला बत्तिसमेत काटिएपछि उद्योग थप संकटमा परेको छ।
उदयपुर वितरण केन्द्र प्रमुख विजयकुमार खत्रीका अनुसार एक साता अघि पत्र पठाएर भुक्तानी दिनका लागि अनुरोध गरे पनि उद्योगले भुक्तानी नदिए पछि आइतबारबाट बिजुली काटनु परेको जानकारी दिए।
‘अहिलेसम्म गरेर सिमेन्ट उद्योगले प्राधिकरणलाई बुझाउनु पर्ने करिब ३६ करोड बक्यौता रहँदै आएको थियो तर सो बक्यौता रकम भुक्तानी गर्नका लागि एक साताअघि उद्योगलाई पत्र पठाएका थियौं। तर, पूर्णरूपमा विधुतलाई भुक्तानी गरिएन, त्यसपछि बाध्य भएर आइतबारदेखि बिजुली काटेका हौं’ उनले भने। |
सिर्दीमा बस दुर्घटना : २७ यात्रु घाइते दमौली। पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–५ सिर्दीमा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा २७ जना घाइते भएका छन्। काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको ग१ख ९६३५ नम्बरको बस अनियन्त्रित भई सडकबाट ५० मिटर तल खस्दा बसमा सवारी २७ यात्रु घाइते भएका हुन्।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अवदेश विष्टको नेतृत्वमा २५ जनाको प्रहरी टोलीले घाइतेको उद्धार गरेको छ। घाइतेमध्ये नौ जनालाई थप उपचारका लागि पोखरा ‘रिफर’ गरिएको छ भने अन्य घाइतेको दमौलीस्थित अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए।
घाइते हुनेमा बस चालक पोखरा महानगरपालिका–३१ बस्ने २७ वर्षीय सुनिल विक, सहचालक पोखरा महानगरपालिका १५ बस्ने ३७ वर्षीय सुविन कुँवर, गैँडाकोट नगरपालिका बस्ने १९ वर्षीय सुशील श्रेष्ठ, सोही ठाउँ बस्ने शिवहरि श्रेष्ठ, पर्वत फलेवास नगरपालिका–१० बस्ने २१ वर्षीय विष्णुप्रसाद चापागाई, पैयु गाउँपालिका–१ बस्ने २७ वर्षीय टीकाराम न्यौपाने, पोखरा महानगरपालिका बिरौटा बस्ने २५ वर्षीय राजकुमारा माझी, सोही ठाउँका १७ वर्षीय विकास बर्तौला रहेको प्रहरीले जनाएको छ।
त्यस्तै २० वर्षीय सौरभ श्रेष्ठ, बागलुङको ताराखोला बस्ने २५ वर्षीय उपेन्द्र घर्ती, पोखरा महानगरपालिका १९ बस्ने २५ वर्षीय अमृत थापा, सोही ठाउँ बस्ने २३ वर्षीया सविना तामाङ, ३९ वर्षीय चेतबहादुर रानाभाट, भारत पटनाका ३३ वर्षीय प्रभातकुमार सिंह, २९ वर्षीय अनामिका सिंह, खोटाङका ५० वर्षीया कोपिला राई घाइते भएका छन्।
त्यसैगरी सोलुखुम्बुका ४७ वर्षीय कुलबहादुर राई, २५ वर्षीया नोवाङ शेर्पा, मुगु घर भई काठमाडाँ बस्ने २५ वर्षीय राजकुमार बूढा, पर्वतको फलेबास बस्ने ३२ वर्षीय टेकबहादुर थापा, बागलुङका २० वर्षीया अस्मिता छन्तेल, पोखरा महानगरपालिकाका ३० वर्षीया सोनी पुलामी, भारत विहारका १८ वर्षीय रोहित कुमार, एक वर्षीय आदित्य साहा, सुनिता देवी र ३६ वर्षीय राहुल साह घाइते भएका छन्। – रासस |
नारायणी नदीमा डुबेर श्रीमान् श्रीमतीको मृत्यु त्रिवेणी। (नवलपरासी–बर्दघाट सुस्तापूर्व) नवलपुरस्थित नारायणी नदीमा डुबेर श्रीमान् श्रीमतीको मृत्यु भएको छ।
जिल्लाको मध्यविन्दु नगरपालिका–२ नन्दपुरस्थित नारायणी नदीमा डुबेर मध्यविन्दु–२ कोल्हुवाका करिब ५५ वर्षीय सोमबहादुर बोटे र उनकी श्रीमती करिब ५० वर्षीया बगरी बोटेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वनवलपुरका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले बताए।
नारायणी पारी चितवन राष्ट्रिय निकुञ्जमा निगुरो टिप्न जाँदा नदी तर्ने क्रममा उनीहरुलाई नदीले बगाएको थियो। आइतबार बेलुका नदीले बगाएर बेपत्ता भएका दुवै जनालाई राति मृतावस्थामा फेला पारिएको प्रहरी नायब उपरीक्षक पाठकले बताए। – रासस |
पर्सा बजारमा बस दुर्घटना, ३१ जना घाइते चितवन। पूर्वपश्चिम राजमार्गको पर्सा बजारमा बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन्। कलैयाबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २५६१ नम्बरको बस आफैँ अनियन्त्रित भई गएराती दुर्घटना भएको हो।
खैरहनी नगरपालिका–८ पर्सा बजारमा बस दुर्घटना भएको इलाका प्रहरी कार्यालय खैरहनीले जनाएको छ। बस अनियन्त्रित भई सडक छेउमा पल्टिएको हो।
दुर्घटनामा घाइते सबैको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको र १४ जना मध्यम घाइते भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार अन्य १६ जनाको अवस्था सामान्य रहेको छ। |
डा. सञ्जीव गुप्तासहित ४ जना नेपालीले पाए अमेरिकाको फूलब्राइट छात्रवृत्ति अमेरिका। अमेरिकामा नेपालका डा. सञ्जीव गुप्तासहित चार जनालाई फूलब्राइट स्कलरसिपद्वारा सम्मान गरिएको छ।
अमेरिकी सरकारद्वारा विभिन्न मुलुकका अति उत्कृष्ट, समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेका र पढाइमा जेहेन्दार व्यक्तिलाई लक्षित गर्दै दुई वर्षका लागि सो छात्रवृत्ति दिइन्छ।
डा. गुप्तासँगै लेखक तथा अभियन्ता सरिता परियार, नेपाल सरकारका उपसचिव शिशिर लामिछाने, नेशनल फरेन्सिक अफिसका वरिष्ठ वैज्ञानिकका रुपमा कार्यरत रस्मिता सुवाल यो छात्रवृत्ति पाएका छन्।
डा. सञ्जीव गुप्ताले सामुदायिक अस्पताल स्थापना गरेर नेपालको स्वास्थ्य सेवामा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। डा. गुप्ता भक्तिवेदान्त हस्पिटलको सिईओ पनि हुन्।
यो छात्रवृत्ति जित्नेले अमेरिकाका अति उत्कृष्ट विश्वविद्यालय मा अध्ययन गर्न पाउनुका छन् साथै उनीहरुलाई व्ज्ञ भिजामा अमेरिका पठाइनेछ। उनीहरुलाई जहाजको टिकटदेखि खाना बस्नको सम्पूर्ण सुविधासहित जनही १ लाख डलर, नेपाली रुपैयाँ १ करोड तीस लाख प्रतिवर्ष पाउनेछन्।
जुन अमेरिकाका औषध श्रमिक व्यक्तिहरूको तुलनामा झण्डै दोब्बर हो। सन् २०२३, फलमा मास्टर्स डिग्रीको लागि उक्त छात्रवृत्ति नेपालबाट क्रमस डा. सञ्जीव गुप्ता, सरिता परियार, शिशिर लामिछाने र रस्मिता सुवालले पाएका हुन्।
|
आजको मौसमः यी पाँच प्रदेशमा हुनेछ मेघगर्जनसहितको बर्षा काठमाडौं। हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । गण्डकी तथा कर्णाली प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भैरहेको छ।
दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।
राति भने देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको संभावना रहेको छ।
देशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको हुनाले त्यसबाट हुन सक्ने क्षति र जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
|
हतियारसहित भारतीय युवक पक्राउ जलेश्वर। महोत्तरी प्रहरीले आज जिल्लाको एकडारा गाउँपालिका–४ हलखोरी चोकबाट हतियारसहित एक भारतीय युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत बिहारको बाजोपट्टी ग्राम पञ्चायत वडा नम्बर–६ बस्ने रामवृक्ष यादवका छोरा २६ वर्षीय पप्पु यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए।
भारतको सुरसण्ड शहरबाट हतियार बोकेर आउँदै गरेको युवक पप्पुलाई हलखोरी चोकमा खटिएका प्रहरीलाई शङ्का लागि जाँच गर्दा उनको साथबाट होममेड इण्डियन लेखिएको एक थान पेस्तोलले र सोही पेस्तोलमा लाग्ने पाँच राउण्ड गोलीसहित पक्राउ गरिएको हो ।
हतियारसहित पक्राउ परेका युवक पप्पुलाई आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा ल्याएर आवश्यक कारबाही अगाडि बढाइएको छ । |
अगरबत्ती बेचेर जीविकोपार्जन गर्दै दृष्टिविहीन दम्पती महेन्द्रनगर। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० मुक्तकमैया बस्तीका इन्द्र राना र उनकी श्रीमती इनावरी राना पाँच वर्षयता अगरबत्ती बिक्री गरेरै जीविकोपार्जन गर्दै आएका छन् । दृष्टिविहीन दम्पती अगरबत्ती बिक्री गर्न कञ्चनपुरदेखि झापासम्म पुग्ने गरेका छन् ।
मुक्तकमैया राना दम्पतीलाई सरकारले पाँच कठ्ठा जमिन उपलब्ध गराएको छ । तर जग्गाबाट आम्दानी भने केही गर्न सकेका छैनन् । आर्थिक अवस्था निकै कमजोर भएपछि इन्द्र र इनावरी पछिल्लो समय अगरबत्तीको व्यापार गर्न थालेका छन् । त्यसैबाट हुने आम्दानीको भरमा उनीहरुले जीविका चलाएका छन् । डाँफे अगरबत्ती उद्योगबाट अगरबत्ती लिएर बिक्री गर्न देशभर जाने गरेको इन्द्रले बताए ।
“दैनिक रु चारहजारदेखि रु पाँच हजारसम्मको अगरबत्ती बिक्री हुन्छ”, महेन्द्रनगर बजारमा अगरबत्ती बिक्री गर्दैगरेको अवस्थामा भेटिएका उनले भने–“आर्थिक अभावका कारण इनावरी (श्रीमती)लाई पढाउन सकिन ।” इनावरीले कक्षा १२ मा पढाइ छाडेको इन्द्र बताउँछन्।
यसअघि इन्द्रले केहीवर्ष घर नजिकैको झलारी बजारमा माछाको पसलमा काम गरेका थिए । त्यहाँ उनले माछा काटकुटको काम गर्थे। त्यसैवापतको पारिश्रमिकबाट राना दम्पतीले घरखर्च चलाएका थिए
सुरुआतमा इनावरीले अगरबत्ती बिक्री गर्न थालेकी हुन् । पछि उनीसँगै इन्द्रले पनि अगरबत्ती बिक्री गर्न थाले। “उद्योगले बिक्री भएको अगरबत्तीको २० प्रतिशत मुनाफा हामीलाई दिने गरेको छ”, इन्द्रले भने– “दिनभरी बजार र दैलोदैलोमा अगरबत्ती बिक्री गर्र्छु, साँझ नजिकैको धर्मशालामा रात कटाउने गरेको छु ।”
धेरैले शारीरिक अशक्तता देखेरै पनि अगरबत्ती खरिद गर्ने उनले अनुभव सुनाए । दृष्टिविहीन भएपनि आत्मनिर्भर बन्नकै लागि अगरबत्ती बेच्ने गरेको इन्द्रको भनाइ छ । “केही काम नगरी सुखै छैन, बाँच्नका लागि केही न केही त गर्नै प¥यो”, रानाले भने–“अगरबत्ती बेच्न जाँदा डो¥याउने व्यक्तिको व्यवस्था पनि उद्योगले नै गरिदिएको छ ।”
महेन्द्रनगरमा भने इन्द्र आफ्ना १३ वर्षीय भतिजा आर्यनको सहारामा आएका थिए। अगरबत्ती बेच्न इन्द्र झापा, धरान, विराटनगर, काठमाडाँैं, धनकुटालगायत सहर पुगिसकेका छन् । हाल इनावरी अगरबत्ती बेच्न काठमाडाँै गएकी उनले बताए । “म महेन्द्रनगर आएँ, इनावरी काठमाडौँतर्फ लागिन, म पनि छिट्टै अगरबत्ती लिएर काठमाडौँ जाँदै छु ।”
राना दम्पतीको मुक्तकमैया शिविरमा सानो घर छ । घर रेखदेखको जिम्मा दुई छोरालाई लगाएर दुवैजना अगरबत्ती बिक्री गर्न देश दौडाहामा निस्कने गरेका छन् । आर्थिक अभावकै कारण दुवै छोरालाई पढाउन नसकेको उनीहरु बताउँछन् । दृष्टिविहीन दम्पतीले कुनै पनि निकायबाट हालसम्म सहयोग नपाएको गुनासो गरे । स्थानीय तहबाट आयआर्जनको काम पाउन सके सहज हुने राना दम्पती बताउँछन् ।
दिनभरी अगरबत्ती बिक्री गर्दा रु पाँच सयसम्म कमाउने गरेको इन्द्र बताउँछन् । “अगरबत्ती उद्योगले एक छाक खानाको खर्च दिन्छ”, उनले भने–“यसबाट जेनतेन गुजारा चलेको छ ।” एक प्याकेट अगरबत्तीको मूल्य रु ५० देखि रु एक सय ५० सम्म रहेको छ । |
जेठ १० गतेभित्र आगामी वर्षको कार्यक्रम पेस गर्न कामपाको निर्देशन काठमाडौैं। काठमाडौैं महानगरपालिकाले आगामी आर्थिक वर्षका कार्यक्रम तर्जुमा गरेर जेठ १० गतेभित्र पेस गरिसक्न विभागीय प्रमुखलाई निर्देशन दिएको छ ।
कामपाको प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले आज विभागीय प्रमुखहरुको बैठकमा चालु आर्थिक वर्षको सिलिङ नबढ्ने गरी, कार्यान्वयन योग्य कार्यक्रम तर्जुमा गर्न विभिगीय प्रमुखहरुलाई निर्देशन दिएका हुन्।
“महानगर गौरवका योजना के हुन सक्छन् ? सोच र परिकल्पना पत्र निर्माण गर्नुहोस्”, अधिकारीले भने, “हामीले महानगर कस्तो बनाउन चाहेका छौँ । कार्यक्रमबाट देखिनुपर्छ । यी कार्यक्रम नागरिकसँग जोडिने खालका हुनुपर्छ । कार्यान्वयन योग्य हुनुपर्छ ।”
आर्थिक वर्ष २०८०\८१ अधुरा योजना पूरा गर्ने वर्ष हुने र त्यसपछि कुनै पनि अधुरा योजना बाँकी नरहने गरी कार्यक्रम तर्जुमा गर्न पनि बैठकमा उनले जोड दिए।
त्यसैगरी, कामपाका विभागहरु काठमाडौँ प्लाजामा सार्ने विषयले बैठकमा लामो समय लिएको थियो । अहिलेसम्ममा प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष र सचिवालय, प्रशासन विभाग, सामाजिक विकास विभाग, स्वास्थ्य विभाग, कानुन तथा मानव अधिकार विभाग, विपद् व्यवस्थापन विभाग, वातावरण व्यवस्थापन विभाग, आन्तरिक लेखापरीक्षण एकाइ, खरिद एकाइ प्लाजामा सरिसकेका छन् ।
अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालय आगामी जेठ ३ गतेभित्र, सहकारी विभाग जेठ ६ गतेभित्र, सहरी व्यवस्थापन विभाग जेठ ८ गतेभित्र प्लाजामा सरिसक्ने योजना कामपाको छ । कार्यालय सार्ने निहुँमा कुनै पनि सेवा रोकिनुहुन्न । सेवामा कोही पनि सेवाग्राहीले दुःख पाउनु हुँदैन । बैठकमा प्रमुख प्रशासकीय अधिकृत अधिकारीले, प्लाजामा सहयोग कक्ष स्थापना गरेर सेवाग्राहीले सूचना दिने र सहयोग उपलब्ध गराउने बताए । सहायता कक्षबाटसम्बन्धी जानकारी र सहयोग प्राप्त हुनेछ ।
प्लाजाको बाहिर सेतो पृष्ठभूमिमा रातो अक्षरले महानगरपालिका लेखेको बोर्ड राखिसकिएको छ । भित्र विभागहरुको सङ्केतका लागि हरियो पृष्ठभूमिमा सेतो अक्षरले नाम लेखिनेछ । हरेक तलामा कुन कुन विभाग नाम लेखिनेछ ।
यही वैशाखदेखि नै कामपाको १४ वटै विभागले काठमाडौँ प्लाजाबाट सेवा दिने भने पनि यस अघि रहेका केही कार्यलयहरु अयन्त्र नसरेकाले समस्या भएको कामपाको भनाइ छ । |
भक्तपुरस्थित चुनदेवीको फर्निचर कारखानामा भीषण आगलागी भक्तपुर। भक्तपुरको एक फर्निचर एवं सोफा कारखानामा भीषण आगलागी भएको छ ।
आज साँझ भक्तपुरको सूर्यविनायक नगरपालिका–५, चुनदेवीस्थित एक फर्निचर तथा सोफा कारखानामा साँझ ७ बजेदेखि भएको आगलागी नियन्त्रणको प्रयास राति ९ बजेसम्म जारी रहेको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिए ।
साँझदेखि सुरु भएको आगलागी के कारणले भएको र कति मूल्य बराबरको क्षति भयो भन्नेबारेमा यकिन नभएको बताउँदै उनले आगलागी पूर्ण रुपमा नियन्त्रणमा आएपछि सबै विवरण प्राप्त हुने बताए ।
उनले भने, “ठूलो फर्निचर कारखानामा आगलागी भएको छ, कारखाना कसको हो, के कति मूल्य बराबरको सामान क्षति भयो, आगलागीका कारण के हो भन्ने विवरण आएको छैन, सबै निकाय आगो नियन्त्रणका लागि सक्रिय छन्, पूर्ण रुपमा आगो नियन्त्रणमा आएपछि प्रहरीले मुचुल्का गरेपछि मात्रै सबै विवरण आउँछ ।”
घटनास्थलमै रहेर आगलागी नियन्त्रण गर्न सक्रिय रहेका जुद्ध वारुण यन्त्र भक्तपुरका सूचना अधिकारी एवम् अग्नि नियन्त्रक विज्ञ विजयप्रसाद धौभडेलले ९० प्रतिशत आगो नियन्त्रणमा आएको र बाँकी आगो नियन्त्रणको प्रयास भइरहेको बताए।
फर्निचर काराखानामा भएको आगलागीबाट सँगैको एक घरमा सामान्य क्षति पुगे पनि मानवीय क्षति कतै नभएको र कारखानासँगैको अर्को दुईवटा घरलाई क्षति हुनबाट जोगाएको उनले बताए ।
जुद्ध वारुण यन्त्र भक्तपुरका तीन, काठमाँडाँै र ललितपुरका दुई गरी पाँचवटा दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनासहितको सहयोगमा आगो नियन्त्रणको प्रयास भइरहेको उनले बताए । अचानक हावाहुरीसहित भइरहेको वर्षाका कारणले आगलागी नियन्त्रणमा ल्याउन समस्या भइरहेको उनले बताए। |
टोपबहादुर रायमाझी बूढानीलकण्ठबाट पक्राउ काठमाडौं। पूर्व उपप्रधानमन्त्री तथा सांसद टोपबहादुर रायमाझी बूढानीलकण्ठ पासीकोटको एक घरबाट पक्राउ परेका छन् ।
नक्कली शरणार्थी बनाएर विदेश लैजाने नाममा भएको ठगी मुद्दामा फरार एमाले सचिवसमेत रहेका रायमाझी आइतबार साँझ पक्राउ परेका छन्। फरार भएको ११ औं दिनमा प्रहरीले उनलाई पक्राउ गरेको हो।
प्रहरी सो्रतका अनुसार रायमाझी शनिबार मात्रै काठमाडौ छिरेको सूचना प्रहरीले पाएको थियो। उनी पासीकोटस्थित एक व्यक्तिको घरमा बसिरहेको अवस्थामा पक्राउ परेका हुन्।
सो प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण, बहालवाला सचिव टेकनारायण पाण्डे, सुरक्षाविज्ञ डा. इन्द्रजित राईलगायत १२ जनालाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ।
उनीविरुद्ध जिल्ला अदालत काठमाडौंबाट वैशाख २० मा पक्राउ पुर्जी जारी भएको थियो। पक्राउ पुर्जी आउँदा उनी अर्घाखाँचीस्थित महेन्द्र विद्यावोध माध्यमिक विद्यालयको हिरक महोत्सव उद्घाटन कार्यक्रममा थिए। त्यहाँबाट काठमाडौं हिँडेका रायमाझी फरार भएका थिए।
प्रहरीले शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्वगृहमन्त्री बालकृष्ण खाँण र उनका स्वकीय सचिव नरेन्द्र केसीलाई वैशाख २७ गते पक्राउ गरेको थियो ।
त्यसअघि वैशाख १९ गते तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा इन्द्रजित राई र वैशाख २० गते बहालवाला सचिव (तत्कालीन गृहसचिव) टेकनारायण पाण्डे पक्राउ परेका थिए ।
प्रहरीले उक्त घटनाका गिरोहहरु सन्दीप रायमाझीलाई वैशाख २० मा साथै केशव दुलाल, सानु भण्डारी, टङ्क गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङलाई गत चैतमा पक्राउ गरेको थियो । यही वैशाख २६ गते काठमाडौँको टोखा बस्ने रामशरण केसी र मोरङ घर भएका गोविन्द चौधरी पक्राउ परेका थिए । उनीहरु सबैका लागि आजै चार दिन म्याद थप भएको छ।
घटनामा मुछिएर पक्राउ पुर्जी जारी भएकापक्राउ परेका डा इन्द्रजित राईका छोरा निरजलाई प्रहरीले खोजी गरिरहेको छ।
आज पक्राउ परेका रायमाझीलाई नेकपा (एमाले)ले सचिवबाट निलम्बन पनि गरिसकेको छ । उक्त घटनामा हालसम्म एक सय छजनाले २० वटा जाहेरी दिएका छन् । उनीहरुले कूल रु २३ करोड २५ लाख ठगी भएको भनी जाहेरी दिएका छन् ।
घटनामा मुछिएपछि प्रहरीले थप दुईजनालाई पक्राउ पुर्जी जारी गरिसकेको छ । शुक्रबार पक्राउ पुर्जी जारी भएकामा तत्कालीन गृहमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक र कांग्रेसका नेता पूर्वसभासद् आङ्टावा शेर्पा छन् ।
|
नक्कली मह बनाएर बेच्ने गिरोह पक्राउ लुम्बिनी। बुटवलमा महमा अखाद्यपदार्थ मिसावट गरेर उपभोक्तालाई ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ सिर्जनानगरमा महमा मिसावट गरी उपभोक्तालाई ठगी गर्ने भारतीय गिरोहलाई पक्राउ गरिएको हो ।
सो गिरोहले घर भाडामा लिएर अखाद्यपदार्थ मिसावट गरी मह उत्पादन गरी बिक्री गर्दै आएको वडा प्रहरी कार्यालय रामनगरका प्रमुख अर्जुन पौडेलले जानकारी दिए।
पक्राउ पर्नेमा भारत, विहारको विरपुरका ५२ वर्षीय मनिस धामी, ५५ वर्षीय इन्द्रजित धामी, २१ वर्षीय पिन्टु धामी, ३१ वर्षीय सुधीर धामी, २० वर्षीय रवीन धामी, ४८ वर्षीय अरुण धामी र २८ वर्षीय वुदुवा धामी रहेका छन् ।
प्रहरीले गस्तीका क्रममा मह उत्पादन गर्दै गरेको उद्योगमा सो गिरोहलाई फेला पारेको हो । उद्योगमा खानतलासी गर्दा चार क्विन्टलभन्दा बढी अखाद्यपदार्थ मिसावट गरेको मह फेला परेको प्रहरीले जनाएको छ ।
खानतलासी गर्ने क्रममा बुटवल–११ सिर्जनानगरबाट विभिन्न व्यक्तिको घरबाट अखाद्यपदार्थ मिसावट गरेको मह बरामद गरिएको वडा प्रहरी कार्यालय रामनगरले जनाएको छ । बरामद गरिएको मह परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवा पठाइएको छ । |
क्यान्सर हुनुको ८० प्रतिशत कारण धुम्रपान र मध्यपान भएको चिकित्सकहरुको भनाई काठमाडौं। नेपालमा क्यान्सर रोगको अवस्था भयावह रहेको चिकित्सकहरुले बताएका छन् । क्यान्सर हुनुको ८० प्रतिशत कारण धुम्रपान र मध्यपान भएको पनि चिकित्सकहरुको भनाई छ ।
आइतबार काठमाडौंमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य कर कोषको सचिवालको सहकार्यमा आयोजित धुम्रपान तथा सुर्तिजन्य पदार्थको उपभोगबाट उत्पन्न रोगको रोकथाम, नियन्त्रण र उपचार सम्बन्धी विशेषज्ञ चिकित्सकहरुसँगको अन्तरक्रिया कार्यक्रमा बोल्दै चिकित्सकहरुले धुम्रपान नियन्त्रण गर्नसके क्यान्स हुने सम्भावना ८० प्रतिशत घटेर जाने बताएका हुन् ।
कार्यक्रममा नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष एवं क्यान्सर रोग विशेषज्ञ डा. अञ्जनी कुमार झाले क्यान्सरको प्रमुख कारण सुर्ति सेवन र जीवनशैली रहेको बताए । नेपालमा क्यान्सरविरुद्धको भ्याक्सिनको धेरै चर्चा हुने गरे पनि त्यसको परिपूर्ति गर्न अहिले असम्भव रहेको उनको भनाई छ ।
क्यान्सरका क्षेत्रमा काम गर्ने जनशक्तिको मनोबल बढाउन नेपाल सरकारले काम गर्न पर्ने भन्दै उनले थप जनशक्तिको विकास हुन पनि आवश्यक रहेको धारणा राखे।
त्यस्तै वीर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. अम्बुज कर्णले नेपालमा क्यान्सर रोगको अवस्था भयावह रहेको बताए। उनले क्यान्सरको विरामीलाई सरकारले एक लाखसम्मको उपचारमा सहुलियत दिइरहेको जानकारी दिए।
त्यस्तै, भक्तपुर अस्पतालका कार्यकारी निर्देशक तथा क्यान्सर रोग विशेषज्ञ डा. विष्णुदत्त पौडेलले क्यान्सरको प्रमुख कारण सुर्ति सेवन भएको भन्दै सुर्ति सेवनलाई रोक्न सके, नियमित कशरत र जीवनशैलीमा ध्यान पुर्याउन सके क्यान्सरको खतरा ९० प्रतिशत कम हुने बताए। |
हिरासतमा राख्न चार दिनको म्याद थप, आठ-नौ दिनमा अनुसन्धान सकेर प्रतिवेदन बुझाइने काठमाडौं। जिल्ला अदालत काठमाडौंले नक्कली भूटानी शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर सङ्गठित ठगीमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डेसहित १२ जनामाथि अनुसन्धान गर्न प्रहरीलाई चार दिनको म्याद दिएको छ।
यसअघि थपिएको म्यादभित्र अनुसन्धान नसकिएको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौँले म्याद थपका लागि आज काठमाडौँ जिल्ला अदालतमा पेस गरेकामा अदालतबाट चार दिनको म्याद प्राप्त भएको प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए ।
सङ्गठित अपराधमा अनुसन्धान भइरहेकाले प्रहरीले उनीहरुलाई ६० दिन हिरासतमा राखेर आवश्यक काम कारबाही अघि बढाउन पाउँछ । उक्त प्रकरणको अनुसन्धानमा प्रहरीले ५० दिन कटाइसकेको छ ।
“अब आठ–नौ दिनमा अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाइने छ”, काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालले भने, “यो बीचमा अन्य आरोपीहरुको खोजी, प्रमाणहरु सङ्कलन जारी नै रहनेछ ।” सरकारी वकिलको कार्यालयमा प्रहरीले बुझाएको प्रतिवेदनका आधारमा कार्यालयले अदालतमा अभियोजन दर्ता गर्नेछ ।
घटनामा मुछिएपछि प्रहरीले थप दुईजनालाई पक्राउ पुर्जी जारी गरिसकेको छ । शुक्रबार पक्राउ पुर्जी जारी भएकामा तत्कालीन गृहमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक र कांग्रेसका नेता पूर्वसभासद् आङ्टावा शेर्पा छन् ।
प्रहरीले शरणार्थी प्रकरणमा अहिलेसम्म १२ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्वगृहमन्त्री बालकृष्ण खाँण र उनका स्वकीय सचिव नरेन्द्र केसीलाई वैशाख २७ गते पक्राउ गरेको थियो ।
त्यसअघि वैशाख १९ गते तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा इन्द्रजित राई र वैशाख २० गते बहालवाला सचिव (तत्कालीन गृहसचिव) टेकनारायण पाण्डे पक्राउ परेका थिए ।
प्रहरीले उक्त घटनाका गिरोहहरु सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी, टङ्क गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङलाई गत चैतमा पक्राउ गरेको थियो । यही वैशाख २६ गते काठमाडौँको टोखा बस्ने रामशरण केसी र मोरङ घर भएका गोविन्द चौधरी पक्राउ परेका थिए । उनीहरु सबैका लागि चार दिन म्याद थप भएको हो ।
घटनामा मुछिएर पक्राउ पुर्जी जारी भएका नेकपा (एमाले)का सचिव पूर्वमन्त्री टोपबहादुर रायमाझी र पक्राउ परेका डा राईका छोरा निरजलाई प्रहरीले खोजी गरिरहेको छ ।
रायमाझीलाई नेकपा (एमाले)ले सचिवबाट निलम्बन पनि गरिसकेको छ । उक्त घटनामा हालसम्म एक सय छजनाले २० वटा जाहेरी दिएका छन् । उनीहरुले कूल रु २३ करोड २५ लाख ठगी भएको भनी जाहेरी दिएका छन् । |
चिट्ठा परेको भन्दै २२ लाख ठगी गर्ने गिरोहका तीन पक्राउ उदयपुर। जिल्ला प्रहरी कार्यालयले विभिन्न स्थानका सोझासाझा मानिसलाई चिट्ठा पर्यो भन्दै रकम असुल गर्ने गिरोहका तीन अभियुक्तलाई पक्राउ गरेर ठगी तथा आपराधिक लाभ (एक्सटर्शन)सम्बन्धी कसुरमा अनुसन्धान सुरु गरेको छ । उनीहरूले दुई महिनाभित्र रु २२ लाखभन्दा बढी रकम ठगी गरेका थिए ।
उक्त कार्यालयले पत्रकार भेटघाट गरेर जिल्लाका विभिन्न स्थानका बासिन्दालाई चिट्ठा परेको नाममा ठगी गर्नेलाई पक्राउ गरेर आज सार्वजनिक गरेको हो ।
चिट्ठा परेको नाममा सम्बन्धित व्यक्तिले करस्वरुप तोकिएकमोजिमको रकम बुझाउनुपर्ने भन्दै पहिला नै रकम असुल गरेर झुक्याउने गरेको गुनासो बढेपछि पटकपटकको खोजी र अनुसन्धानपछि ती अभियुक्तलाई पक्राउ गरिएको थियो ।
पक्राउपर्नेमा जिल्लाको कटारी नगरपालिका–३ निवासी उज्वल थापामगर, चितवन जिल्ला रत्ननगर नगरपालिका–२ का सुशील श्रेष्ठ र काठमाडौँ महानगरपालिका १० बुद्धनगरमा लुकछिपी बसेका कटारी–३ का विशाल थापामगर रहेकोे प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुयाँलले बताए। उनीहरू बिरुद्ध ठगी सम्बन्धित मुद्दासमेत दर्ता गरिएको छ ।
ती अभियुक्तले खोटाङ जिल्ला खोटेहाङ गाउँपालिका–२ स्थायी घर भई हाल उदयपुरको त्रियुगा नगरपालिका–३ मोतिगडा बस्ने वर्ष २९ का उदय राईलाई २५ लाख भारतीय रुपैयाँ चिट्ठा परेको भन्दै कीर्ते कागजात देखाएर पहिला कर तिर्नुपर्छ खातामा पैसा बुझाउनु भन्दै रु तीस हजार ठगी गरेका थिए ।
यसैगरी अन्य व्यक्तिलाई पनि चिट्ठा परेको भन्दै पटकपटक गरेर उनीहरुले रु २२ लाख २० हजार ठगी गरेको पाइएको प्रहरीले जनाएको छ ।
ठगी गर्ने गिरोहले भारतीय नागरिक प्रकाश वर्माको नाममा रहेको एक कम्पनीबाट चिट्ठा परेको भनेर जिल्लाका सोझासाझा जनतालाई ह्वाटस् एप्समार्फत उक्त कम्पनीको छापसमेतको कागजात देखाएर सुरुमै रु २० हजारदेखि एक लाखसम्म कर लिएर आफ्ना खातमा रकम सङ्कलन गर्न लगाउने गरेको खुल्न आएको जानकारी दिइयो ।
पक्राउ परेकाहरूले गाउँगाउँमा गएर पहिला आफ्ना मान्छेमार्फत पैसा भएका सोझासाझासम्म पुगेर नाम टिपेर पहिलो उनीहरुको आर्थिक अवस्था अध्ययन गरी रकम ठगी गर्न सकिनेलाई मात्र उनीहरुका नाममा फेक चिट्ठाका कागजात बनाएर चिट्ठा परेको कीर्ते कागजात देखाउने गरेका थिए ।
प्रहरी प्रमुख फुयाँलले भने, “चिट्ठाको नाममा ठगी गर्ने आपराधिक समूमध्येको पक्राउ गरिएका तीन जना त समान्य बाहिर भूमिका निर्वाह गर्ने मात्र हुन्, बास्तविक नाइकेको खोजी भइरहेको छ, प्रहरीले चाँडै उनीहरुसम्म पुग्नेगरी अनुसन्धान सुरु गरेको छ, र अब चाँडै मुख्य नाइके पक्राउ पर्नेछ । पक्राउपर्नेहरूका आधारमा नै मुख्य नाइकेको पनि तीव्र खोजीकार्य सुरु गरिएको छ। ”
पक्राउ गरिएकाहरू बिरुद्ध मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद २१ अन्तर्गत एक्सटर्शनको कसुरमा मुद्दा दर्ता गरी कारबाही अघि बढाइएको हो । |
चितुवाको आक्रमणबाट धनकुटामा तीन जना घाइते धरान। धनकुटामा चितुवाको आक्रमणबाट तीन जना घाइते भएका छन्। धनकुटाकाे चौविसे गाउँपालिका– ५ बोधेस्थित जङ्गलमा चितुवाको आक्रामणमा परी तीन जना घाइते भएका हुन्।
इलाका प्रहरी कार्यालय राजारानीका अनुसार यसरी घाइते हुनेमा २६ वर्षिय मुकेश याखा, ३० वर्षिय भुवन याखा र ३३ वर्षिय पविन याखा रहेका छन्। मौनाखोला नजिकको जंगलमा उनीहरुमाथि चितुवाले आक्रमण गरेको थियो।
सो आक्रामणमा परेका मुकेश र भुवनको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ भने अर्का घाइते पविनको भने स्थानिय मेडिकलमा उपचार गरिएको थियो। |
आफ्नै श्रीमतीको हत्या गर्ने शेर्पा पक्राउ काठमाडौँ। आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन्।
आफ्नै ५० वर्षीया श्रीमती मोतीमाया पौडेलको हत्या गरेको अभियोगमा ५५ वर्षीय निङमा शेर्पा पक्राउ परेका हुन्। टोखा नगरपालिका– ८ स्थित डेरा गरी बस्ने धनकुटा कुरले तेनुपा गाउँपालिका घर भएका शेर्पालाई शनिबार राति पक्राउ गरिएको हो।
मादक पदार्थ सेवन गरी एकआपसमा झै– झगडा हुँदा निङमाले कुटपिट गर्ने क्रममा मोतीमायाको घटनास्थलमै मृत्यु भएको प्रहरी वृत्त महाराजगंजले जनाएको छ। पक्राउ परेका शेर्पा माथी प्रहरीले थप अनुसन्धान गरिरहेको छ। |
पशुपति आर्यघाटको विद्युतीय शवदाह गृह निःशुल्क गर्ने तयारी काठमाडौं । पशुपति क्षेत्र विकास कोषले पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा दाहसंस्कारका लागि ल्याइने शवलाई निःशुल्क शवदाहको व्यवस्था गर्ने भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालयमा बसेको कोष सञ्चालक परिषद्को बैठकले थप चार विद्युतीय शवदाह गृहको व्यवस्था गरी निःशुल्क दाहसंस्कारको व्यवस्था गर्ने निर्णय गरेको कोषका सदस्य सचिव डा मिलनकुमार थापाले जानकारी दिए।
“कोषले कार्यविधि निर्माण गरेपछि कोष सञ्चालक परिषद्ले उक्त कार्यविधि पारित गर्ने छ । यसका लागि केही समय लाग्ने छ”, उनले भने। पशुपतिमा रहेका दुई वटा विद्युतीय शवदाह गृहमध्ये एउटाको यन्त्र विग्रिएको छ । हाल एउटा शवदाह गृह मात्र सञ्चालनमा रहेको सदस्य सचिव थापाले बताए।
सोही स्थानमा थप चार विद्युतीय शवदाह गृह निर्माण गरी घाटमा आउने सबै शवलाई निःशुल्क दाहसंस्कारको व्यवस्था गर्ने तयारी गरिएको कोषले जनाएको छ । पशुपति आर्यघाटमा शवको दाहसंस्कार गरेबापत् दाउराबाट जलाउने घाटमा रू १५ हजार र विद्युतीय शवदाह गृहमा रू चार हजार शुल्क तोकिएको छ ।
इच्छुक दाताका लागि स्वेच्छाले कोषको खातामा आर्थिक सहयोग गर्न चाहेमा विकल्प खुला राखिने कोषले जनाएको छ । थप विद्युतीय शवदाह गृह यन्त्र खरिदका लागि कोषले आफ्नै स्रोतबाट रू आठ करोड छुट्याएको छ । शवदाह गृह निर्माणपछि निःशुल्क सञ्चालनका लागि कोषले रू एक करोडको अक्षय कोष स्थापना गरेको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए।
बैठकको अध्यक्षता संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री सुदन किराँतीले गर्नुभएको थियो । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री सुशीला सिर्पालीकोसमेत उपस्थिति थियो । |
अंग्रेजी माध्यममा अध्यापन थालेपछि सामुदायिक विद्यालयमा निजीका विद्यार्थी आकर्षित बागलुङ। बागलुङ नगरपालिका–१४ नारायणस्थानस्थित गणेश माध्यमिक विद्यालयमा यही शैक्षिकसत्रमा पर्वतको कुश्मा बजारको निजी विद्यालय छोडेर पाँच विद्यार्थी भर्ना भए ।
यसअघि कुश्माकै निजी विद्यालयमा अध्ययन गर्न छोडेर गणेश माध्यमिक विद्यालयमा आएर अध्ययन गर्ने विद्यार्थी तीन थिए । पछिल्लो समय गाउँका विद्यार्थीको आकर्षण सहरका निजी विद्यालयमा भए पनि यहाँ कुश्माबाट बागलुङको गणेश माध्यमिक विद्यालयमा आएर अध्ययन गर्ने सङ्ख्या आठ पुगेको छ ।
“गणेश माध्यमिक विद्यालयमा अहिले सात सय ६५ विद्यार्थी अध्ययनरत छन्, विद्यालयमा सुधार हुँदै गएपछि बलेवाका तीन निजी विद्यालय बन्द भएको इतिहास छ”, प्रधानाध्यापक एकनाथ रिजालले भने, “अहिले कुश्मा बजारबाट दैनिक यान्त्रिक पुल तरेर यस विद्यालयमा पढ्न् आउनुहुन्छ, भर्ना हुन प्रवेश परिक्षा अनिवार्य गरिएको छ, विद्यालय सुधारका लागि स्थानीयकोसमेत योगदान छ ।”
विद्यालय गण्डकी प्रदेशमै अब्बल भएको विद्यालयको दाबी छ । गणेश माध्यमिक विद्यालय आर्थिक वर्ष २०७६/७७ मा सरकारको नमुना विद्यालयका रुपमा छनोट भएको थियो । विद्यालयमा आव २०७८/७९ देखि पाँच वर्षसम्म रु सात करोड ५० लाख बजेट कार्यान्वयनको चरणमा रहेको प्रअ रिजाल बताउँछन्। अभिभावकको अग्रसरताले नै विद्यालयको शैक्षिक तथा भौतिक अवस्थामा उल्लेख्य सुधार भएको उनको भनाइ छ । झण्डै १५ वर्षदेखि अङ्ग्रेजी माध्यममा अध्यापन थालेपछि विद्यार्थीको आकर्षण बढ्दै गएको हो ।
“पढाइको माध्यम अङ्ग्रेजी भएकाले निजीका विद्यार्थी आकर्षित भएका हुन्”, प्रअ रिजालले भने । भौतिक पूर्वाधारका साथै दरबन्दी अभाव भएको उहाँको भनाइ छ । चालु आवमा विद्यालयले ३० कोठे नयाँ भवन निर्माण थालेको छ । विसं २०३७ मा स्थापना भएको विद्यालयमा हाल सात सय ६५ विद्यार्थी अध्ययनरत छन् ।
विद्यार्थीलाई आवासको समेत व्यवस्था गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुकुन्द शर्माले जानकारी दिए। विद्यालयले धनधान्याञ्चल महायज्ञ सञ्चालन गरी रु दुई करोड सङ्कलन गरेको रकमको ब्याजबाट शिक्षिक राखेको छ । विद्यालयमा बागलुङका साथै पर्वत, म्याग्दी, कास्की, चितवन बुटवलसँगै सुदूरपश्चिमको अछामसम्मका विद्यार्थी अध्ययनरत छन् । अठार दरबन्दीकासहित विद्यालयमा ५० जना कार्यरत रहेका छन् ।
“शिक्षक, कर्मचारी र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीका छोराछोरी यसै विद्यालयमा पढ्छन्”, शर्माले भने। विद्यालयमा २०६५ सालदेखि अङ्ग्रेजी माध्यम तथा कक्षा ४ देखि १० सम्म कम्प्युटर विषयको पठनपाठन गरिँदै आएको छ । गणेश माविले हरेक वर्ष शतप्रतिशत नतिजा हासिल गर्दै आएको छ । |
यार्सा संकलकमाथि चट्याङ, तीन जना घाइते दार्चुला। दार्चुलामा चटयाङमा परेर तीनजना घाइते भएका छन्। यार्सगुम्बा संकलन गरिरहेका माथी चटयाङ पर्दा तीनजना घाइते हुन पुगेका हुन्। उनीहरुको अहिले उपचार भईरहेको छ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहका अनुसार दुहुँ गाउँपालिका– १ पिपलचौरीका ३७ वर्षीय आनसिंह महरा र उनकी ३० वर्षीय श्रीमती मानमती महरा र सोही गाउँपालिका–२ हिकिलाका १८ वर्षीय महेश बडाल घाइते भएका हुन्।
यसअघि पनि यार्सा संकलन हिम पहिरोमा पुरिदाँ झन्डै आधा दर्जनको मृत्यु भएको थियो। |
पूर्वगृहमन्त्री ‘बादल’का छोरा प्रतीक र पूर्वसभासद आङतावा शेर्पाविरुद्ध पनि पक्राउ पुर्जी जारी काठमाडौं । पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापाविरुद्ध पनि पक्राउ पूर्जी जारी भएको छ । अनुसन्धानको अन्तिम चरणमा सुरक्षा सल्लाहकार इन्द्रजीत राईको बयानको आधारमा उनलाई पक्राउ पूर्जी जारी गरिएको हो । प्रहरीले आइतबार उनका विरुद्ध पक्राउ पूर्जी जारी गरेको हो ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहकाभन्दै ठगी गरिएको प्रकरणमा पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीकविरुद्ध पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी परिसर काठमाडौले जनाएको छ ।
जिल्ला अदालत, काठमाडौंले उनलाई पक्राउ गर्न पुर्जी दिएको स्रोतले बतायो । बुबा गृहमन्त्री भएका बेला प्रतीकले मानव बेचबिखन गिरोहबाट आर्थिक लाभ लिएर अनुचित कार्य गरेको प्रहरीले प्रमाण जुटाएकाले पक्राउ पुर्जी जारी गरिएको स्रोतको दावी छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्चपदस्थहरु धमाधम पक्राउ पर्न थालेसँगै उनी फरार थिए । यसअघि पक्राउ परेका पूर्वगृहमन्त्री थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईको बयानपछि प्रतीकविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । उनले यसअघि आफू सो प्रकरणमा कुनै पनि रुपमा संलग्न नभएको भन्दै विज्ञप्ति जारी गरेका थिए ।
तत्कालीन गृहमन्त्रीका रुपमा रहेका रामबहादुर थापाले भने यो विषयमा केही बोलेका छैनन । थापाका छोरा प्रतीकको संलग्नता रहेको भन्दै यसअघि लगातार समाचार सम्प्रेषण भएपछि उनले विज्ञप्ति मार्फत आफू संलग्न नभएको जनाएपनि प्रहरीले उनलाई पक्राउ गर्ने आधार फेला पारेको भन्दै पक्राउ पूर्जी मागेको थियो । आइतबार जिल्ला अदालत काठमाडौंले उनका विरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । यतिबेला उनी फरार रहेका छन् ।
सो प्रकरणमा नेपाली कांग्रेसका पूर्वसभासद आङतावा शेर्पाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । शरणार्थी प्रकरणको गिरोहका नाइके हिरासतमा रहेका सानु भण्डारीलाई भेटेका उनीमाथी पक्राउ पुर्जी जारी भएको हो । उनी २०७० सालमा रामेछापबाट सांसदमा निर्वाचित भएका थिए ।शेर्पा घटना सार्वजनिक भएपछि मोबाईल अफ गरी बेपत्ता भएका छन्। उनको प्रहरीले शुक्रबारदेखि नै खोजी गरे पनि अझैसम्म फेला पार्न सकेको छैन।
सो प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वगृहमन्त्री थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, पूर्वउपप्रधानमन्त्री एवं एमाले नेता टोपबहादुर रायमाझीका छोरा सन्दीप, पूर्वगृह सचिव टेकनारायण पाण्डे पक्राउ परिसकेका छन् ।
यस प्रकरणको गिरोहका नाइकेको रुपमा मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी, पाँचथरका टेक गुरुङ र मोरङका सागर राई लगायत १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । पूर्व उपप्रधानमन्त्री रायमाझी र इन्द्रजीत राईका छोरा निरज राई भने फरार रहेका छन् । |
null |
६ करोड रुपैयाँ भन्दा बढीको जुत्तासहित तीन वटा ट्रक नियन्त्रणमा हेटौडा। हेटौडाबाट ६ करोड रुपैयाँ भन्दा बढिको जुत्तासहित तीन वटा ट्रक नियन्त्रणमा लिएको छ। मकवानपुर जिल्ला हेटौडा उपमहानगरपलिका १५ स्थित पुर्व–पश्चिम लोकमार्गबाट बैशाख २९ गते विशेष सुचनाको आधारमा एडिडास सुपरस्टार जुत्तासहितको तीन वटा ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो।
अमेरिकी डलर ४ लाख ८८ हजार १ सय ७३ रुपैयाँ ६३ पैसा (६ करोड ४२ लाख २९ हजार ४ रुपैयाँ ५० पैसा) मुल्य लेखिएको प्रज्ञापनपत्र सहित ना ३ ख ७४५०, ना ३ ख ७६५८ र ना ३ ख ७७५० नम्बरको तीन वटा ट्रकमा लोड भएको एडिडास सुपरस्टार जुत्ताको विल विजक शंकास्पद रहेको भन्ने विशेष सुचनाको आधारमा नम्बर १४ गण मकवानपुरले नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिएको जुत्ता र तीनवटै ट्रक आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरमा बुझाईएको छ। |
वीरगञ्जबाट भन्सार छलीको ७४ बोरा चामल बरामद वीरगञ्ज। वीरगञ्जबाट प्रहरीले भन्सार छली ल्याइएको ७४ बोरा चामल नियन्त्रणमा लिइएको छ।
विभिन्न किसिमका चामल भन्सार छली वीरगञ्जमा ल्याई अनधिकृत रूपमा भण्डारण गरी राखेको सूचनाको आधारमा प्रहरीले वीरगञ्ज–११ रानीघाटमा छापामारी गरेको थियो। उक्त क्रममा रानीघाटस्थित प्रकाशकुमार गुप्ताको पसलअगाडि लुकाइ छिपाइ राखिएको ७४ बोरा चामल नियन्त्रणमा लिइएको पर्साका प्रहरी प्रबक्ता डिएसपी दीपक गिरीले बताए।
नियन्त्रणमा लिइएको चामलको मूल्य एक लाख २० हजार ८७८ कायम गरी आवश्यक कारवाहीको वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको गिरी जानकारी दिए। |
गर्मी बढेसँगै वन डढेलो र आगलागीका घटना बढ्दै काठमाडौँ। आगलागी तथा वन डढेलोका घटना बढ्दै गएको पाइएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांकानुसार यही वैशाख १ देखि ३० गतेसम्म देशभर पाँच सय २७ वटा आगलागी र ९४ वन डढेलोका घटना घटेका छन्।
प्राधिकरणका अनुसार आगलागीमा ११ र डढेलोमा परेर पाँच जनाले ज्यान गुमाएका थिए भने ६५ जना घाइते भएका छन्। गर्मी बढेसँगै दैनिक आगलागी र डढेलोका घटना बढ्न थालेका र एक महिनामा आगलागी र वन डढेलोका छ सय २१ घटनामा मानवीयसँगै अन्य भौतिक तथा संरचनागत क्षति भएको प्राधिकरणका उपसचिव सुन्दरप्रसाद शर्माले जानकारी दिए।
आगो तथा डढेलो लागेको देख्नेबित्तिकै पूर्वतयारीबिना निभाउन जाँदा घाइते हुने तथा ज्यानै जाने जोखिममा पर्ने भएकाले आगो तथा डढेलो फैलिएका बेला जोखिम नमोल्न र सुरक्षाको उपायबिना त्यस्तो ठाउँमा नजान उनले आग्रह गरे।
यसैगरी जंगलमा लागेको डढेलो निभाउन पानीसँगै हरियो स्याउला, माटोको पनि प्रयोग गर्न सकिने भएकाले सोको प्रयोग गर्न प्राधिकरणले आग्रह गरेको छ। सकेसम्म आगो तथा डढेलो लाग्न नदिन चुरोटका ठुटा जथाभावी नफाल्न, आगो लागिसकेको ठाउँमा जलेका वस्तु माटोले पुरिदिन पनि प्राधिकरणको समुदायलाई आग्रह छ। – रासस |
आज बृहत खोप अभियान, देशैभरी खोप लगाइँदै काठमाडौं। आज बृहत खोप अभियान। खोप लगाउन छुटेका ५ बर्ष मुनिका सबै बालबालिकालाई आज खोप लगाइँदैछ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशैभरीका सबै सरकारी स्वास्थ्य संस्थाबाट राष्ट्रिय खोप तालिका अनुसार १५ महिना भित्रमा लगाउनु पर्ने नियमित खोप छुटेका ५ वर्ष मुनिका सबै बालबालिकालाई नियमित खोप दिइँदैछ।
जन्मने बित्तिकै लगाउने बिसिजी, ६ हप्तामा लगाउने रोटा, पोलियो, पिसिभी, डिपिटी, र हेप बि हिब, १० हप्ता भित्र लगाउने रोटा, पोलियो, पिसिभी, डिपिटी, र हेप बि हिब, १४ हप्ता भित्र लगाउनु पर्ने पोलियो, एफएईपिभी, हेप बि हिब, ९ महिना भित्र लगाउनु पर्ने, एफ आई, पिभि, पिसिभी, दादुरा रुबेला र १५ महिना भित्र लगाउनु पर्ने दादुरा–रुबेला र टाईफाईडका जस्ता खोप अहिले लगाइँदैछ।
|
null |
भिरबाट लडेर दार्चुलामा एक जनाको मृत्यु धनगढी । दार्चुलामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।
जिल्लाको मालिकार्जुन गाउँपालिका–८ चस्कोटका ४० वर्षीय जयराम लुहारको धमालेक सल्याड भिरबाट लडेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहका अनुसार शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ ।
घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । |
विमानस्थल भन्सार कार्यालयका नासु पक्राउ काठमाडौं। प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका एक नायब सुब्बालाई पक्राउ गरेको छ ।
शनिबार नासु रेवन्त खड्कालाई कार्यालयको कार्यकक्षबाटै प्रहरीले पक्राउ गरेको हो । अनुसन्धान प्रक्रियामा गइसकेका कतिपय मुद्दामा व्यक्तिगत लाभ हुनेगरी चासो राखेपछि पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
नासु खड्काले विदेशबाट आफन्तले ल्याएका अवैध सामानसमेत अनुसन्धानमा नलगिकनै फिर्ता पठाउने गरेको स्रोतको भनाइ छ ।
|
चक्कु प्रहार गरेर लमजुङमा एक जनाको हत्या बेंसीसहर । लमजुङ प्रहरीले हत्या आरोपमा एक युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङको मध्यनेपाल नगरपालिका–८ स्थित मिदिम खोला जलविद्युत् आयोजनामा कार्यरत खोटाङ घर भएका ३० वर्षीय अर्जुन रम्तेल छन् ।
शुक्रबार राति करिब १०ः३० बजे उनले सोही जलविद्युत आयोजनामा कार्यरत उदयपुर गाईघाट घर भएका २५ वर्षीय सुनिल श्रेष्ठलाई बायाँ खुट्टाको घुँडामा चुक्कु प्रहार गरी घाइते बनाएका थिए ।
गम्भीर घाइते श्रेष्ठलाई उपचारका लागि पोखरा लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
शव पोस्टमार्टमका लागि गण्डकी हस्पिटल पोखरामा राखिएको र रम्तेललाई कास्की प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय लमजुङमा पठाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको लमजुङ प्रहरीको भनाइ छ । |
वाग्मती नदी किनारमा फोहर फाल्नेलाई जरिवाना काठमाडौं । राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ नाराका साथ सुरु वाग्मती सफाइ महाअभियानका क्रममा नदी किनारमा फोहर फाल्नेलाई स्थलमै जरिवाना गरिएको छ ।
वाग्मती सफाइ महाअभियानले प्रत्येक शनिबार बिहान आयोजना गर्ने जागरणमूलक सफाइका क्रममा सिनामङ्गल पुलमुनिको नदी किनारमा फोहर फाल्ने लक्ष्मीनारायण शर्मा र हिमालयन विल्डर्सलाई रु १०/रु १० हजार गरी रु २० हजार जरिवाना गरिएको अभियानकर्मी चक्रबहादुर चन्दले जानकारी दिए। काठमाडौँ महानगरपालिकाले सफाइस्थलमै रसिद काटेर दोषीलाई कारबाही गर्ने अभियान नै चलाउने भएको छ ।
महाअभियानले प्रत्येक हप्ता जरिवाना लिने रसिदसहित नगर प्रहरी र कर्मचारी पठाइ सहयोग गरिदिन महानगर प्रमुख शाहसँग अनुरोध गरेका थिए । सफाइ महाअभियानले काठमाडौँ उपत्यकाका दुवै महानगरपालिका र सबै नगरपालिकालाई दिगो फोहर व्यवस्थापनका लागि सहयोग गर्ने प्रतिबद्धता जनाउँदै आएको छ ।
विसं २०७० जेठ ५ देखि सुरु भएको वाग्मती सफाइ महाअभियान प्रत्येक शनिबार बिहान दुईघण्टा सञ्चालन हुने गरेको छ । आज सफाइ महाअभियानका ५२२आँै हप्तामा पूर्वमुख्यसचिव लीलामणि पौडेल, अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिनालगायत अभियानकर्मीको सक्रियता थियो । सफाइबाट तीन मेट्रिकटन फोहर व्यवस्थापन गरिएको छ । अर्को शनिबार बिहान पनि यसै स्थानमा सफाइ गरिने जनाइएको छ ।
यसैगरी विष्णुमती सफाइ अभियानको ४७०औँ हप्तामा मानसिंह धर्म माध्यमिक विद्यालय परिसरमा सफाइ गरिएको छ । सफाइबाट एक ट्र्याक्टर नकुहिने फोहर व्यवस्थापन गरिएको अभियानकर्मी शोभाकान्त पाण्डेले राससलाई जानकारी दिए।
वाग्मती सफाइ महाअभियानबाट प्रभावित भएर काठमाडौँ उपत्यकाका सबै नदी, सांस्कृतिक सम्पदालगायत सार्वजनिकस्थलमा सफाइ अभियान सुरु भएको छ । रुद्रमती नदीमा पनि सफाइ गर्ने गरिए पनि सेतोपुल क्षेत्रमा सिधै नदीमा ढल हालेर प्रदूषित बनाइएको अभियानकर्मी राम साहले जानकारी दिए।
यसैगरी आज गुह्येश्वरीमाथिको वाग्मती, मनोहरा, रुद्रमती, मनोहरा, ललितलपुरको गोदावरी खोला, चक्रपथको उत्तरी र पश्चिमी खण्डमा पनि सफाइ गरिएको जनाइएको छ । जताततै सफाइ अभियान जारी रहे पनि ठोस उपलब्धि नभएको भन्दै आलोचना हुने गरेको छ ।रासस |
स्थापना दिवसमा सशस्त्रको विविध कार्यक्रम, ३१ जनाले गरे रक्तदान भैरहवा । सशस्त्र प्रहरी बल, नेपाल नम्वर २७ गण हेडक्वाटर रुपन्देहीले स्थापना दिवसको अवसर पारी विविध कार्यक्रम गरेको छ ।
सशस्त्र प्रहरीले देशका नागरिकको शान्ति सुरक्षा, विपतमा उद्दार मात्रै नगरी सामाजिक क्षेत्रमा उत्तरदायि छ भन्ने सन्देशका साथ रक्तदान, मधुमेह परिक्षण, सिमा क्षेत्र तथा मन्दिरको सरसफाइ गरिएको सशस्त्र प्रहरी बल, नेपाल नम्वर २७ गण हेडक्वाटर रुपन्देहीका प्रमुख एसपी दिपक थापाले बताए । ‘१६ औं स्थापना दिवसको अवसरमा रगतको अभावले नै कसैको ज्यान जान नपाओस, रगतको संचितिमा सहयोग पुगोस भन्ने हेतुले गणभित्र रक्तदान कार्यक्रमको आयोजना गरेका हौ” थापाले भने ।
कार्यालयले दिवसको पूर्वसन्ध्यामा नेपाल–भारत सिमा क्षेत्र र मन्दिरमा बृहत सरसफाई गरिसकेको छ भने दिवसको अवसर पारेर शनिबार कार्यालय परिसरमा रक्तदान गरेको छ । लायन्स क्लब अफ भैरहवा लिगेसी र भिम अस्पतालको सहयोग र समन्वयमा कार्यालय परिसरमा रक्तदान र मधुमेह परिक्षण गरिएको गणका सूचना अधिकारी डिएसपी प्रेम प्रसाद सिग्देलले जानकारी दिए ।
सिमा सुरक्षा सँगै सशस्त्र प्रहरी बलले जिल्लामा हुने विभिन्न खालका विपद् तथा नागरिकहरूलाई आवश्यक परेको समयमा जिल्ला सुरक्षा समितिको निर्णय अनुसार सुरक्षा प्रदान गर्ने गरेको छ भने विपद, महामारी तथा प्राकृतिक प्रकोपहरुमा सशस्त्र प्रहरी सशक्त रुपमा नागरिकको उद्दारमा क्रियाशील हुँदै आएको छ । रक्तदान कार्यक्रममा ३१ जना सशस्त्र प्रहरीले रक्तदान गरेका थिए ।
|
धवलागिरी हिमालमा बेपत्ता पर्यटक मजदुरको शव सात महिनापछि भेटियो म्याग्दी। धवलागिरि हिमालमा बेपत्ता भएका एक पर्यटक मजदुरको शव सात महिनापछि भेटिएको छ ।
पाँच हजार मिटर उचाइमा रहेको फ्रेञ्च पासमा भेटिएको शव आज घटनास्थलबाट पोखरा हुँदै काठमाडौँ लगिएको छ । उद्धारमा संलग्न म्याग्दी दानाका इन्द्रसिंह शेरचनले सिन्धुपाल्चोकको लिपा गाउँपालिका–१ का २७ वर्षीय देव लामाको शव भेटिएको जानकारी दिए।
“गत असोज २० गतेदेखि बेपत्ता लामाका आफन्तको अनुरोधमा खोजी गर्ने क्रममा हिउँले पुरिएको अवस्थामा शव भेटिएको छ”, उनले भने, “नेपाली सेनाको हेलिकोप्टरले लामाको शव आजै काठमाडौँ लगेको छ ।”
शेरचनसहित सेनाका दुई जना, दुई जना शेर्पा र देवका काका सुनिल लामाको टोली फ्रेञ्च पासमा पुगेर शव ल्याएका हुन् । काठमाडौँको फोर सिजन टे«किङ एजेन्सी कम्पनीमार्फत विदेशी पर्यटक लिएर धवलागिरि आधार शिविर पुगेका लामा बेपत्ता हुनुभएको थियो । |
सुपर दोर्दी ‘ख’ को ५४ मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडियो लमजुङ। लमजुङ – लमजुङको दोर्दी खोलामा निर्माण सम्पन्न भएको सुपर दोर्दी ‘ख’ जलविद्युत आयोजनाको ५४ मेगावाटको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ ।
पिपुल्स हाइड्रो पावर कम्पनीले सम्पन्न गरेको आयोजनाको विद्युत केही दिन अघि रास्ट्रिय ग्रिडमा थपिएको हो ।
आयोजनाको निर्माण पूरा गरी परिक्षण सफल भएपछि ग्रिडमा जोडेर परिक्षण उत्पादन सुरु गरेको कम्पनीले जनाएको छ । आयोजनाबाट उत्पादन भएको विद्युत दोर्दी कोरिडोर प्रसारण लाइनको किर्तीपूर सबस्टेसनमा जोडिएको छ ।
आयोजनाबाट यसअघि नै विद्युत उत्पादन गर्ने तालिका भएपनि भूकम्प, नाकाबन्दी, दोर्दी खोलामा आएको भीषण बाढीको क्षति तथा कोभिड–१९ महामारीका कारणले निर्माण प्रभावित हुँदा धकेलिँदै आएको थियोे । ०७४ सालमा सुरु भएको आयोजनाको निर्माण कार्य २०७८ सालमा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।
लमजुङको दोर्दी गाउँपालिकामा निर्माण भएको आयोजनाबाट वार्षिक ३१४.९८३ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ । आयोजना सम्पन्न गर्न ८ अर्ब २९ करोड रुपैयाँ लागत अनुमान गरिए पनि निर्माण अवधि लम्बिँदा केही बढ्ने देखिएको कम्पनीले जनाएको छ ।
आयोजनामा सानिमा बैंकको अगुवाइमा ९ वटा बैंकले ५ अर्ब ८० करोड रुपैयाँ ऋण लगानी गरेका छन् ।
सुरुमा यो आयोजना ४९.६ मेगावाट क्षमतामा निर्माण गर्ने तय भएको थियो । पछि आयोजनाको स्तरोन्नति गरेर क्षमता ५४ मेगावाट पुराइएकाे हो । |
ठमेल सरसफाइमा जुटे व्यवसायी र घरधनी काठमाडौं । देशकै प्रमुख पर्यटकीयस्थल ठमेललाई सफा, स्वच्छ र पर्यटकमैत्री बनाउन पर्यटन व्यवसायी तथा घरधनी सरसफाइ अभियानमा जुटेका छन् ।
ठमेल पर्यटन विकास परिषद्को अगुवाइमा काठमाडौँ महानगरपालिका, नेपाल प्रहरी, ठमेलका पर्यटन व्यवसायी र घरधनीले ठमेल सफाइ गरेका हुन्।
‘हाम्रो ठमेल सफा ठमेल’ भन्ने नाराका साथ आज बिहान ७ देखि ८ बजेसम्म बृहत् ठमेल सरसफाइ कार्यक्रमको आयोजना गरिएको थियो । अभियानअन्तर्गत ठमेल क्षेत्रका सडक तथा सडकगल्लीमा सरसफाइ गरिएको थियो ।
सफा र पर्यटकमैत्री ठमेल बनाउने अभियानअन्तर्गत सरसफाइ कार्यक्रम सञ्चालन गरिएको परिषद्का अध्यक्ष भवि शर्माले बताए। “हाम्रो ठमेल सफा ठमेल अभियालनलाई सार्थक बनाउन सक्रिय भएका छौँ”, उनले भने, “अभियानको समीक्षा गरेर भोलिका दिनमा कसरी सशक्त र प्रभावकारी बनाउन सकिन्छ, घरधनी र व्यवसायीको सुझावका आधारमा अघि बढ्छौँ ।”
पर्यटन व्यवसायी रमेश बस्तीले व्यवसायी र घरधनीबाट सुरु भएको ठमेल सरसफाइ अभियानलाई प्रभावकारी रुपमा अघि बढाउन सबैको सक्रिय साथ र सहयोगको खाँचो औँल्याए । उनले भने, “अभियान सुरु भएको छ, विश्वले चिनेको ठमेललाई सफा र सुन्दर बनाउन सबैको सक्रियता आवश्यक छ ।”
ठमेलका घरधनी अर्जुनलाल प्रधानले सफा र प्रदूषणरहित ठमेल बनाउन सबै एकजुट हुनुपर्नेमा जोड दिए। परिषद्का उपाध्यक्ष सहदेव धमलाले ठमेललाई पर्यटकमैत्री वातावरण बनाउने अभियान निरन्तर अघि बढ्ने विश्वास व्यक्त गरे। |
खडेरीको असर जंगली निगुरोमा पनि बेलबारी (मोरङ)। विगत वर्षमा वैशाख पहिलो सातादेखिनै जंगलमा पाइने निगुरो सुक्खा खडेरीले यो वर्ष फस्टाउन सकेको छैन। जंगलको निगुरो टिपेरै गुजारा चलाउनेले विकल्प भेट्टाएका छैनन्।
मोरङको उत्तरी भेगको जंगलमा वर्षायाममा प्रशस्त मात्रामा निगुरो पाइन्छ। यहाँको निगुरो काठमाडौँसमेत जान थालेपछि माग ह्वात्तै बढेको छ तर डढेलोलेको कारण जंगलमा सिला खोज्ने पनि अवस्था नरहेको बेलबारी-१० भाउन्नेका टेकबहादुर याखा बताउँछन्। याखा विगत पाँच वर्षदेखि पूर्व पश्चिम राजमार्गको चिसाङ खोला डिलमा निगुरो बेच्दै आएका छन्।
“यो साल समयमा पानी पर्न सकेन, अझै केही समय यस्तै हो भने यो साल निगुरो खान पाइन्छ जस्तो छैन”, याखा बताउँछन्। पथरी, कानेपोखरी, लेटाङ, भाउन्नेलगायतका सामुदायिक वनमा पाइने निगुरो टिप्न विगत वर्षहरुमा बिहानैदेखि साँझसम्म स्थानीयको जंगलमा भीडनै हुन्थ्यो।
सयौ परिवारको गुजारा निगुरो टिपेरै चलाउने गरेको बेलबारी-११ का मेघराज बस्नेत बताउँछन्। उनी निगुरो टिपेर ल्याउनेसँग खरिद गरेर काठमाडाैं पठाउने गरेको बताउँछन्।
मौसमले साथ दिने हो भने दैनिक दर्जनौँ गाडी निगुरो काठमाडौँ, पोखरालगायत सहरमा निर्यात हुन्छ तर यस विषयमा सरकारी निकायले नत कुनै तथ्यांक नै राखेको छ नत चासो नै। कृषि मन्त्रालय कोशी प्रदेशका प्रवक्ता पशुपति पोख्रेलका अनुसार हालसम्म मन्त्रालयमा निगुरो निर्यातको विषयमा कुनै पनि तथ्यांक नरहेको बताए।
व्यावसायिक हिसाबले किसानद्वारा उत्पादित वस्तुको मात्र मन्त्रालयले तथ्यांक राखेको तर जंगलमा आफैं उम्रिएको निगुरोको विषयमा कुनै पनि तथ्यांक नरहेको तर सामुदायिक वनले तथ्यांक राखेको हुनसक्ने प्रवक्ता पोख्रेल बताउँछन्।
कृषिविज्ञ डा राजेन्द्र उप्रेतीका अनुसार निगुरो एक उनिउ प्रजातिको वनस्पति भएकाले यसले चिस्यान क्षेत्र रोज्ने गरेको र त्यस क्षेत्रमा मात्र राम्ररी फस्टाउने गरेको बताउँछन्। समयमा पानी नपरेर जमिन सुक्खा हुँदै गएमा निगुरो मासिन सक्ने डा उप्रेती बताउँछन्।
चैत दोस्रो हप्तादेखी जंगलमा टिप्न मिल्ने निगुरो असोज अन्तिमसम्म टिप्न सकिने र जति टिप्यो त्यति राम्रो निगुरो पलाउने निगुरो व्यवसायी भद्रमाया भट्टराई बताउँछिन्।
उनका अनुसार केही वर्ष पहिले यसरी निगुरो काठमाडौं निर्यात हुँदैन थियो र बजारको खोजीमा इटहरी, दमक, बिर्तामोडसम्म पुर्याउनुपथ्र्यो। “तर अहिले अरुले टिपेर ल्याएको हामिले संकन गर्छाैं र हामीसँग काठमाडौँका व्यापारीले किनेर लैजान्छन्”, उनी भन्छिन्।
जनसेवा सामुदायिक, कमलपुर सामुदायिक, सिंहदेवी सामुदायिक, सिर्जना र लक्ष्मी सामुदायिक वनमा दैनिक निगुरो टिप्न आउने धेरै भएकाले पनि यस क्षेत्र निगुरो संकलन केन्द्रका रूपमा विकसित हुँदै गएको छ। विद्यालय तथा कलेजस्तरमा पढ्दै गरेका विद्यार्थीले समेत बिदाको समयमा निगुरो टिपेर पढाइ खर्च जुटाउने गरेका छन्। रासस |
आजको मौसमः चार प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहने काठमाडौं। हाल देशमा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।
दिउँसोː कोशी प्रदेशका साथै गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
कोशी प्रदेशका साथै गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। मधेश प्रदेशका थोरै स्थानहरुमा हावा हुरीको सम्भावना रहेको छ।
राति भने देशभर मौसम सामान्यतया सफा रहने छ। |
ठेक्का सम्झौता पूरा नगर्नेलाई कारबाही गरिन्छ : मन्त्री ज्वाला काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले निर्माण क्षेत्रमा भएका ठेक्का सम्झौताअनुसार कार्यसम्पादन नगर्ने कम्पनीलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
जनता टेलिभिजनले आज आयोजना गरेको अन्तरक्रियामा उनले यस क्षेत्रमा देखिएका ढिलासुस्ती, तोकिएका मापदण्ड पूरा नगर्ने, गुणस्तरमा कमजोरी गर्नेजस्ता विकृतिको अन्त्य गर्नुपर्नेमा जोड दिँदै त्यसको उचित व्यवस्थापन तथा अनुगमनका लागि आवश्यक नियम बनाउन सरोकारपक्षसँग परामर्श भइरहेको जानकारी दिए ।
मुलुकको विकास र आर्थिक समृद्धिका लागि पूर्वाधार निर्माणका क्षेत्रमा लगानी बढाउनुपर्ने उनको भनाइ थियो । मन्त्री ज्वालाले यस क्षेत्रमा गरिने लगानीले ठूलो सङ्ख्यामा रोजगारी सिर्जना गर्ने बताउँदै त्यसले उनीहरूको खर्च गर्ने क्षमता विकास तथा पूँजी निर्माण हुने र अर्थतन्त्रको बहुआयामिक पक्षमा सकारात्मक प्रभाव पार्ने बताए ।
सडक यातायातको विस्तारले ग्रामीण समाजलाई शहरसँग जोड्ने भन्दै उनले कृषि क्षेत्रलाई यान्त्रिकरण गर्ने, उत्पादनलाई बजारीकरण गरी बाह्य आयातलाई न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । मन्त्री ज्वालाले आफ्नो मन्त्रालयमा चालु आर्थिक वर्षमा रु एक खर्ब ६७ अर्ब बजेट विनियोजन गरिएकामा अहिले एक खर्ब १३ अर्बको सिलिङ्ग रहेकाले त्यसलाई वृद्धि गर्न विशेष कार्ययोजना तयारीको क्रममा रहेको जानकारी दिए ।
विद्युतीय सवारी साधनको प्रयोगलाई सार्वजनिक यातायातका क्षेत्रमा उपयोग गर्ने विषयलाई सरकारको नीति तथा कार्यक्रममा समावेश गर्न लागिएको बताउँदै उनले स्वदेशी ऊर्जा खपत गर्ने तथा पेट्रोलियम पदार्थको आयातमा न्यूनीकरण गरी व्यापार घाटा कम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले सवारी साधनमा प्रयोग हुने इम्बोस्ड नं मा नेपाली, अङ्ग्रेजी तथा दुवै भाषाको प्रयोग गर्ने र सवारी अनुमतिपत्रको वितरण व्यवस्था सरल बनाउनका लागि गृहकार्य भइरहेको बताए । |
null |
मिटरब्याज प्रकरणः बाराबाट ५३० उजुरी, पीडकले अटेर गरे सम्पत्ति जफत गर्ने आयोगको चेतावनी बारा। अनुचित लनदेन (मिटरब्याज) जाँचबुझ आयोगले शुक्रबार बारामा सुझाव संकलन गरेको छ। आयोगका अध्यक्ष गौरीबहादुर कार्कीसहित आयोग सदस्यहरु उत्तमराज सुवेदी, गणेशबाबु अर्यालको उपस्थिीतिमा कलैयामा सर्वपक्ष भेलाको आयोजना गरी जिल्लामा मिटरब्याजपीडितका अवस्थाको बारेमा सुझाव लिइएको हो।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, जिल्ला समन्वय समितिका प्रतिनिधि, पालिका प्रमुखहरु, पार्टी प्रतिनिधीहरु, पत्रकार, नागरिक अगुवा एवं पीडितका प्रतिनिधिहरु सहभागी थिए। कलैया उपमहानगरपालिकाको सभाकक्षमा आयोजित भेलामा जिल्लामा मिटरब्याजपीडितको अवस्था र उनीहरुको सुरक्षासम्बन्धमा सुझाव मागिएको थियो।
जिल्लाको अवस्थाबारे भेलालाई जानकारी गराउँदै बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जिल्लामा मिटरब्याजपीडितको अवस्था भयावह रहेको बताएका छन्। उनले जिल्लामा ५३० जना पीडितले उजुरी दिएकोमा २८ वटा उजुरी मात्रैको समस्या समाधान भएको बताए।
आयोगले ३० वैशाखसम्मका पीडितलाई निवेदन दिन भनेकोमा सोको अवधि एक साता बढाएर ७ जेठसम्मका लागि म्याद थपेको छ। पीडितलाई जिल्ला प्रशासन कार्यालय बारामा गई निःशुल्क निवेदन दिन सकिने सहज ब्यवस्था मिलाईएको उनले बताए।
प्रजिअ सापकोटाका अनुसार परेका निवेदनहरूको अध्यायन गर्दा २४ हजार कर्जा लिएकोमा २ लाख ४० हजार रुपैयाँको कागज गराइएको पाइयो। लघुवित्तका कर्मचारीहरुले सदस्यसँग पैसा असुलेर ऋण नकाटिदिएको भन्ने उजुरी पनि परेका छन्।
सोझासिधा मानिसहरुलाई बाध्यतामा पारी पैसा लिएर उल्टै मुद्दा मामिला गराएर दुःख दिने गरेका घटनासमेत भएको पाइएको छ। मिटरब्याजीको चंगुलमा पढेलेखेका मानिसहरुसमेत पर्ने गरेको पाइएको उनले बताए।
छलफलमा भाग लिँदै बारागढी गाउँपालिका प्रमुख अशोक कुमार जैसवालले नैतिकताको अभावमा मानिसले मिटरब्याज जस्तो अपराध गरिरहेको बताए। उनले समाज सञ्चालनका लागि लेनदेन आवश्यक भएको भन्दै अनुचित गर्नेलाई कडा कारबाही गर्नुपर्ने उनको भनाई थियो।
जितपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेलले पछिल्लो समय मिटरब्याजीको हतियारका रुपमा बैंक चेक प्रयोग हुने गरेको बताए। थोरै पैसा दिएर धेरै पैसाको चेक लिने र पछि लिएको कर्जा तिरिसक्दा पनि कानुनी झमेलामा पर्नुपर्ने बाध्यता देखिएको उनले बताए।
आर्थिक लेनदेनलाई पारदर्शी बनाउने कुरामा वडा कार्यालयहरुलाई दिएको अधिकारलाई प्रभावकारी र यथार्थ परक बनाउने कुरामा जोड दिनुपर्ने उनको भनाई थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै अनुचित लेनदेन (मिटरब्याज) जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले सरकारले मिटरब्याजपीडितको पक्षमा काम गर्नेगरी कानुन ल्याएको भन्दै अनुचित लेनदेन अपराध भएको बताए।
घरजग्गानै पास गरी लिने र बढी ब्याज लिएर उठिबास लगाउने कार्य गलत भएकाले यस्ता खाले समस्या समाधानमा आयोगले काम गर्ने बताए। पीडक र पीडित दुवैपक्षलाई एकठाउँमा राखी न्यायोचित लेनदेनमा सहजीकरण गरिनेछ भने पीडक समस्या समाधानमा लचक नभए उसको सम्पत्तिको श्रोतको अनुसन्धान गरि श्रोत नपुग्ने सम्पत्ति जफत गर्नेसम्मको कार्यमा आयोगले काम गर्ने अध्यक्ष कार्कीले बताए। |
भरुवा बन्दुक र लागूऔषधसहित सुर्खेतबाट ६ जना पक्राउ काठमाडौं । सुर्खेतबाट प्रहरीले भरुवा बन्दुकसहित तीन जना र लागूऔषधसहित तीन जना गरी ६ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतअन्तर्गत तातोपानी अस्थायी प्रहरी पोष्टबाट खटिएको प्रहरीले भरुवा बन्दुकसहित तीन जनालाई पक्राउ गरेको हो।
अस्थायी प्रहरी पोष्टबाट सादा पोशाकमा खटिएको प्रहरीले सुर्खेत पञ्चपुरी नगरपालिका–१० बच्छीबाट आज तीन जनाको शिकारी टोलीलाई भरुवा बन्दुकसहित पक्राउ गरेको हो । भरुवा बन्दुक लुकाई छिपाई राखेको सूचना प्राप्त गरेलगत्तै त्यहाँ पुगेको प्रहरीले तीन नाल बन्दुकसहित सोही नगरपालिका–१० का ४५ वर्षीय जगतबहादुर खत्री, ५७ वर्षीय हस्तबहादुर नेपाली र ६० वर्षीय टेकबहादुर बयकलाई पक्राउ गरेको हो। पक्राउ परेका तीनै जनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट सादा पोशाकमा खटिएको प्रहरीले टोलीले वीरेन्द्रनगर नगरपालिका–३ सुर्खेत हिलेखालीस्थित लागू औषधसहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–१ का २९ वर्षीय गणेश थापा, वडा नं २ का २३ वर्षीय तपेन्द्र शाही र वडा नं १० का २१ वर्षीय नीरज रानामगर रहेका छन् । उनीहरूबाट दुई पुडिया ब्राउन सुगरजस्तो देखिने खैरो धुलो बरामद भएको प्रहरीको भनाइ छ । |
बालिकामाथि यौन दुर्व्यवहार गरेको ठहरेमा मदन राईलाई हुन सक्छ तीन वर्षसम्म कैद काठमाडौं । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा सञ्चालित ‘शुभद्रा–मदन फाउन्डेसन’ (शुभम्का) संरक्षक एवम् कृषिविज्ञ मदन राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
आवासीयरुपमा शुभम् फाउन्डेसनमा बसेर पढ्ने बालिका र किशोरीहरूलाई यौन दुव्र्यवहार गरेको आरोप लागेका संरक्षक राईलाई प्रहरीले आज मध्याह्न फाउन्डेसनबाटै नियन्त्रणमा लिएको हो।
प्रहरी नियन्त्रणमा रहेका राईमाथि अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले जानकारी दिए। “मदन राईविरुद्ध तीन÷चार ठाउँबाट मौखिक उजुरी आएका छन्। उहाँहरु (उजुरी दिने व्यक्ति)लाई कार्यालयमा बोलाएको छु”, उनले भने, “उहाँहरुले उजुरी दिएपछि कानुनी कारबाहीको प्रक्रिया अगाडि बढ्छ । अहिले सामान्य अनुसन्धान भइरहेको छ।”
संरक्षक राईले आफूहरुको संवेदनशील अङ्गमा हात हाल्ने, शारीरिक सम्पर्कका लागि आग्रह गर्ने, आफ्ना गोप्य अङ्गमा छुन लगाउने, नग्न शरीर देखाएर अश्लील हर्कत गर्ने लगायतका आरोपसहित पीडित पक्षले मौखिक उजुरी दिएको प्रहरीले बताएको छ।
संरक्षक राईलाई प्रहरीले नियन्त्रणमा लिएपछि मौखिक उजुरी दिनेहरुलाई किटानी जाहेरी दिन कार्यालयमा बोलाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिइन्।
फाउन्डेसनका संस्थापकसमेत रहेका ७५ वर्षीय राईले विगत केही वर्षदेखि सामाजिक सञ्जालमा अश्लील शब्द प्रयोग गरेर ‘स्टाटस’ लेख्दै आएका थिए। यौन शिक्षाका नाममा सामाजिक सञ्जालमा अश्लील शब्द प्रयोग गरेको विषयमा संरक्षक राईको चौतर्फी आलोचना हुँदै आएको थियो।
फाउन्डेसनमा अध्ययनरत बालिका तथा किशोरीहरुमाथि संरक्षक राईबाटै यौन दुव्र्यवहार भएको खबर शुक्रबारदेखि विभिन्न सञ्चारमाध्यममा आइरहेका छन्। सञ्चारमाध्यममा समाचार आएपछि बालिका तथा किशोरीहरुले लगाएको आरोप ४० प्रतिशत सत्य रहेको संरक्षक राईले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका छन्।
बालिका तथा किशोरीहरुमाथि यौन शोषण भएको खबर विभिन्न सञ्चारमाध्यममा समाचार आएपछि बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)ले विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकार्षण भएको जनाएको छ।
सिजपले पीडित बालिका तथा किशोरीमाथि यौन दुव्र्यवहार गर्ने संरक्षक राईलाई कडाभन्दा कडा कानुनी कारबाही गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएको छ।
नेपालको संविधानको धारा, ३९ को उपधार (६)मा कुनै पनि बालबालिकालाई कुनै पनि माध्यम वा प्रकारले मानसिक, शारीरिक तथा यौन शोषण गर्न निषेध गरेको छ। बालबालिकामाथि कुनै पनि शोषण भएको ठहरेमा बालबालिकासम्बन्धी ऐन, २०७५ बमोजिम तीन वर्षसम्म कैद र रु ७५ हजारसम्म जरिवाना तोकिएको छ। |
लिवियाका लागि नयाँ शान्ति सेना टोली प्रस्थान काठमाडौं। संयुक्त राष्ट्रसङ्घको आह्वानमा लिवियामा शान्ति स्थापना कार्यका खटिने क्रममा एक सय १५ जनाको नेपाली शान्ति सैनिक टोली त्यसतर्फ प्रस्थान गरेको छ ।
स्पेशल गार्ड युनिट शान्ति सेना चौथो डफ्फालाई बदली गर्न पाँचौँ डफ्फाका शान्ति सैनिकको पहिलो टोली प्रमुख सेनानी भाइकाजी थापाको नेतृत्वमा मिशन इलाकातर्फ प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
त्यहाँ तैनाथ चौथो डफ्फाका एक सय १३ शान्ति सैनिक सेनानी गेलङ लामाको नेतृत्वमा आजै स्वदेश आइपुग्ने जानकारी दिइएको छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ विश्वका विभिन्न मुलुकमा हाल छ हजार ५९ नेपाली शान्ति सैनिक परिचालित छन् ।
शान्ति सैनिक धेरै खटाउने मुलुकको सूचीमा अहिले नेपाल दोस्रो स्थानमा छ । |
लागुऔषधसहित ५ जना पक्राउ काठमाडौं । कञ्चनपुर, बाँके र माेरङबाट लागुऔषधसहित पाँचजना पक्राउ परेका छन् । कञ्चनपुरकाे भिमदत्त नगरपलिका-१८ सालघारीबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब २ ग्राम ९१ मिलिग्राम, नगद ३२ हजार ६ सय ३५ रूपैयाँ र मोबाइल ३ थानसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २७ वर्षीय कमलेश गिरी र २३ वर्षीय पंकज चन्द रहेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
बाँकेकाे बैजनाथ गाउँपालिका-६ सम्झनाचोकबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ३ ग्राम ८ सय २० मिलिग्रामसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कोहलपुर नगरपालिका-३ बस्ने २३ वर्षीय अजयमान चौधरी र सोही ठाउँ बस्ने २० वर्षीय शिव थारु रहेका छन् ।
प्रहरी चौकी सम्झनाचोकबाट खटिएको प्रहरीले बर्दियाबाट कोहलपुरतर्फ आउँदै गरेको भे.११ प १९७१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
मोरङकाे विराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १ ग्राम ८६ मिलिग्रामसहित धनकुटा, धनकुटा नगरपालिका-६ बस्ने ३४ वर्षीय गणेश कुमार पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
|
यौन दुर्व्यवहार गरेको आरोपमा मदन राई पक्राउ काठमाडौं। कृषि विज्ञ मदन राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
खोटाङ प्रहरीले आज बिहान राईलाई उनकै शुभम् फाउन्डेसनबाट नियन्त्रणमा लिएको हो। उनीमाथि फाउण्डेसनमा अध्ययनरत बालबालिकामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ।
राईलाई अहिले जिल्ला प्रहरी कार्याल खोटाङको हिरासतमा राखिएको छ। एकजना पीडित पनि सम्पर्कमा आएको प्रहरीले जनाएको छ। वैकल्पिक शिक्षाको नारासहित दिक्तेल रुपाकोत मझुवागधी नगर्पालिका-२ सोल्मामा रहेको फाउन्डेसनमा डेढ सय विद्यार्थी बसिरहेका छन्।
उनले आफैँद्वारा सञ्चालित फाउन्डेसनमा राखिएका बालबालिकालाई पटक पटक यौन दुर्व्यवहार गरेको घटना सार्वजनिक भएको थियो।
अनुसन्धानका लागि राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय खोटाङका प्रनाउ मन्जिल मुकारुङले बताए।
|
जुवातास खेलिरहेको अवस्थामा तीन जना पक्राउ कैलाली। धनगढीबाट जुवातास खेलिरहेको अवस्थामा तीन जनालाई पक्राउ गरेको छ।
धनगढी उपमहानगरपालिका-१ बसन्तटोल बस्ने डबल बहादुर खड्काको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४५ वर्षीय जनक देउवासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो।
विशेष सूचनाको अधारनमा वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६७ हजार ९ सय ७५ रूपैयाँ र १ गड्डी ताससहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । |
सिंगापुर पठाइदिन्छु भन्दै रकम ठगी गर्ने २० वर्षीय युवक पक्राउ काठमाडौँ। सिंगापुर पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापा बाह्रदशी गाउँपालिका-६ घर भई काठमाडौं महानगरपालिका-१० नयाँ बानेश्वर बस्ने २० वर्षीय सृजन निरौला रहेका छन्।
निरौला समेतले १२ जनालाई वैदेशिक रोजगारीको लागि सिंगापुर पठाई प्रतिष्ठित होटलमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटकपटक गरी ९५ लाख रुपैयाँ ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं सिनांगलबाट पक्राउ गरेको हो।
उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ। |
मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु काठमाडौँ। काठमाडौँ र दाङमा भएको मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु भएको छ। काठमाडौँको तार्केश्वर नगरपालिका–६ चिसापानिमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
चिसापानी बस्ने नुवाकोटको नौकुण्ठ गाउँपालिका–२ घर भएका ३३ वर्षीय पासांग लोप्चन तामाङको मृत्यु भएको हो। टिप्परको ठक्करबाट गम्भीर घाइते भएका तामाङको ग्रिनसिटि अस्पताल सामाखुशीमा उपचारको क्रममा बिहीबार राति मृत्यु भएको हो।
धर्मस्थलीबाट तिनपिप्लेतर्फ जाँदै गरेको रा १ ख २७३४ नम्बरको ट्रिपरले सोही दिशा तर्फ जाँदै गरेको बा ३४ प १००७ नम्बरका मोटरसाइकललाई ठक्कर दिएको थियो। टिप्पर चालकलाई प्रहरी वृत बालाजुले नियन्त्रणमा लिएको छ। शवलाई भने पोष्टमार्टमको लागि त्रि।वि शिक्षण अस्पताल महाराजगंज पठाइएको छ।
यता दाङको घोराही उपमहानगरपालिका १४ स्थित आर्मी ब्यारेक नजिक बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। रोल्पाको रुन्टिगढी गाउँपालिका–३ का २१ वर्षीय चन्द्रबहादुर नेपालीको मृत्यु भएको हो।
बसको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा मृत्यु भएको हो। रा १ ख १२०१ नम्बरको बसले नेपाली सवार रा ३ प ४२ नम्बरका मोटरसाइकललाई ठक्कर दिएको थियो। |
आफ्नै शरीरमा आगो लगाएकी महिलाको मृत्यु बिराटनगर। घरायासी झगडामा आफ्नै शरीरमा आगो लगाएकी महिलाको मृत्यु भएको छ। आफ्नो शरिरमा मट्टितेल खनाएकी ४० वर्षीया आशा शर्माको उपचारको क्रममा मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय, मोरङका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार विराटनगर महानगरपालिका–१० तीनटोलियामा आफ्नै शरीरमा आगो लगाएकी शर्माको उपचारका क्रममा मृत्यु भएको हो। उनका अनुसार बुधबार राति ९ बजेतिर पति राजकुमार कोइरीसँग बिबाद गरेकी शर्माले आफनो शरिरमा मट्टितेल खनाएर आगो लगाएकी थिइन्।
सो आगलागीमा परे पछि उपचारका लागि कोशी अस्पताल, बिराटनगरमा ल्याईएको थियो। तर, हिजो साँझ उनको मृत्यु भएको प्रहरी प्रवक्ता दाहालले जानकारी दिए। सो प्रकरणमा पति राजकुमारलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको छ। |
ट्र्याक्टर दुर्घटनामा एक मजदुरको मृत्यु, सात जना घाइते रोल्पा। रोल्पामा ट्र्याक्टर दुर्घटना हुँदा एक मजदुरको मृत्यु भएको छ। दुर्घटनमा परी मृत्यु हुनेमा लुंग्री गाउँपालिका–५ सर्कनाका १३ वर्षीय खेमराज रोका रहेका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्याम सारुमगरका अनुसार रा१त ३८८१ नम्बरको ट्र्याक्टर गए राति लुंग्री गाउँपालिकाको मछेटीमा दुर्घटना भएको हो। दुर्घटनामा अन्य सात जना घाइते भएका छन्।
लुंग्रीको दोमैमा सडक निर्माणमा खटिएका कामदार काम सकेर बास बस्नका लागि किलाचौरतर्फ जाँदै गर्दा ट्र्याक्टर अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी घाइते भएका मजदुरको प्राथमिक स्वास्थ्यचौकी सुलीचौरमा उपचार भइरहको छ। – रासस |
प्रेस काउन्सिलमा जागिर खुल्यो काठमाडौं। नेपाल प्रेस काउन्सिल जागिर खुलेको छ। अधिकृत प्रशासन (छैठौं) सहित १२ जनाका लागि जागिर खुलेको हो।
आगामी २०८० जेठ १८ सम्म आवाश्यक योग्यता पुगेका उम्मेदवारले निवेदन दिन सक्नेछन भने दोब्बर दस्तुर तिरेमा जेठ २५ सम्म निवेदन दिन सक्ने काउन्सिलले जनाएको छ।
जसअनुसार अधिकृत (प्रशासन) छौठौ खुल्ला र महिला गरी २ जना, अधिकृत (लेखा) महिला १ जना, सहायक स्तर (पाँचौं) खुल्ला, २, महिला, १, आदिवासी जनजाति १ गरी तीन जना, सहायक स्तर चौथो खुल्ला, २, महिला, १ र आदिवासी जनजाति १ गरी ४ जनाको माग गरिएको सुचनामा उल्लेख गरिएको छ।
|
कस्ताे छ आजको मौसम? काठमाडौं। हाल देशमा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।
दिउँसो कोशी प्रदेश र मधेश प्रदेशका साथै बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ।
कोशी प्रदेशका साथै बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।
राति भने कोशी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ।
कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहनु साथै तराईका भू-भागहरुमा अधिकतम तापक्रममा केही वृद्धि हुने सम्भावना रहेको हुनाले त्यसबाट हुन सक्ने क्षति जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुराेध गरेकाे छ। |
दैलेख डढेलोमा एकको मृत्यु, चारलाई थप उपचारका लागि काठमाडौँ लगियो जानकी । दैलेखको आठबीस नगरपालिका–६, माल्या बुडा पहाडा सामुदायिक वनमा लागेको डढेलोमा परी गम्भीर घाइते भएका चार जनालाई बाँकेमा उपचारका लागि ल्याइएको थियो । तर उनीहरूको अवस्था गम्भीर भएकाले थप उपचारका लागि बिहीबार दिउँसो १२ः३० बजे नेपाली सेनाको स्काइ ट्रकबाट काठमाडौँ पठाइएको प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले बताए ।
काठमाडौँ रिफर गरिएकामध्ये नवीन विक, नैनी विक, बसुन्धरा विक र जैकला विक छन् । हिजो (बुधबार) आगलागीमा परेका १० जनामध्ये आठ जनालाई हेलिकोप्टरबाट नेपालगञ्ज ल्याइएकामध्ये भैरव विकको भेरी अस्पताल नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भइसकेको अस्पतालले जनाएको छ ।
अहिले नेपालगञ्जमा तीन जना उपचार भइरहेको छ । भेरी अस्पतालमा एकजना र मेडिकल कलेजमा दुई जनाको उपचार भइरहेको छ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत बाटोमा काम गरिरहेका १० जना दैलेख जिल्लाको आठबिस–६ मा रहेको जङ्गलमा लागेको आगोमा परेका थिए । |
लागूऔषधसहित कञ्चनपुरबाट दुई जना पक्राउ कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ सालघारी क्षेत्रबाट बिहीबार ३ ग्राम खैरो हेरोइनसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
उनीहरूबाट ३२ हजार नेपाली रुपैयाँसमेत बरामद भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश डाँगीका अनुसार सालघारी बस्ने कमलेश गिरी र पंकच चन्दलाई पक्राउ गरिएको हो । उनीहरूको साथबाट खैरो हेरोइन, मोबाइल र पटाका बरामद भएको छ । |
सिंगापुर पठाइदिन्छु भन्दै ९५ लाख ठगी गर्ने एक जना पक्राउ काठमाडौं । सिंगापुर पठाइदिन्छु भनी ९५ लाख रुपैयाँ रकम ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापाको बाह्रदशी गाउँपालिका–६ घर भई हाल काठमाडौं महानगरपालिका-१० नयाँ बानेश्वर बस्ने २० वर्षीय सृजन निरौला रहेका छन् ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले सिनामंगलबाट पक्राउ गरेको हो ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगारी विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।
उनले पीडित ओमनाथ मैनालीसहित १२ जनालाई वैदेशिक रोजगारीको लागि सिंगापुर पठाइदिने भन्दै प्रतिव्यक्ति १४ लाखका दरले ९५ लाख रकम लिई सम्पर्कविहीन भएको प्रहरीको आरोप छ । |
नेपाल वायुसेवा निगमले दुई वटा विमान खरिद गर्दै काठमाडौं। नेपाल वायुसेवा निगमले दुई वटा विमान खरिद गर्नका लागि योजना अघि बढाउन उपसमिति गठन गरेको छ ।
प्रादेशिकरुपमा हवाई ‘कनेक्टिभिटी’ बढाउने उद्देश्यले सहरी क्षेत्रका विमानस्थलमा उडान भर्न सक्ने दुई वटा जहाज खरिद गर्ने कार्य योजना अघि बढाएको हो ।
यसका लागि वैशाख २६ मा बसेको निगमको सञ्चालक समितिको बैठकले समिति सदस्य वरिष्ठ क्याप्टेन सुधिर समशेर राईको संयोजकत्वमा नौ सदस्यीय उपसमिति गठन गरेको छ । उक्त उपसमितिले २१ दिनभित्र प्रतिवेदन वुझाउने गरी काम सुरु गरिसकेको छ ।
“सहरी क्षेत्रका विमानस्थलमा चल्ने जहाज नभएकाले निगमले हाल सहरी एवं व्यापारिक हिसावले फाइदाजनक क्षेत्रमा उडान भर्न सकेको छैन”, निगमद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “ निगमले दुई वटा जहाज खरिद गरेपश्चात काठमाडौँ, विराटनगर, भैरहवा, पोखरा, नेपालगञ्ज, धनगढी लगायतका क्षेत्रबाट प्रादेशिक उडान भर्न सक्नेछ ।” |
मुकेशलाई शहीद घोषणा गर्छौंः मन्त्री मोदी काभ्रेपलाञ्चोक । संघीय मामला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले जनआन्दोलनका घाइते मुकेश कायस्थलाई शहीद घोषणा गरिने बताएका छन्।
बुधबार साँझ निधन भएका दोस्रो जनआन्दोलनका घाइते बनेपा नगरपालिका–८ का मुकेशको श्रद्धाञ्जली सभालाई आज सम्बोधन गर्दै उनले मुकेशलाई शहीद घोषणा गर्नेमा शंका नगर्न आग्रह गरेका हुन्।
“ मुकेशलाई शहीद घोषणा गर्नेमा शङ्का नगर्नुस् । उहाँको निधनले राष्ट्र आज शोकाकुल छ”, मन्त्री मोदीले भने। लोकतन्त्र प्राप्तिमा मुकेशले पु¥याएको योगदानप्रति काभ्रेली नागरिकले गौरव मान्नुपर्ने बताउँदै उनले शोकलाई शक्तिमा बदल्न कायस्थ परिवारजनलाई आग्रह गरे।
मन्त्री मोदीले भने “इतिहासमा ‘जिउँदो शहीद’ निकै कम हुने गर्छन्, मुकेश त्यसमध्ये एक हुनुहुन्थ्यो । उहाँले १८ वर्षसम्म शय्याबाटै मृत्युसँग जुधिरहनुभयो ।” सामान्यभन्दा विशेष नागरिकको मृत्यु ‘विशेष’नै हुनेगरेको र हरेक मनिसको मृत्यु फरकफरक ढङ्गले हुनेगरेको उनको भनाइ थियो ।
सो अवसरमा मन्त्री मोदीलाई मुकेश प्रतिष्ठानमार्फत मुकेशलाई शहीद घोषणा गर्नुपर्ने, उनको नाममा स्वास्थ्य संस्था निर्माण गर्नुपर्नेलगायत माग प्रस्तुत गरिएको थियो ।
श्रद्धाञ्जली अर्पणका लागि मुकेशको शवलाई बनेपा नगरपालिका कार्यालय प्राङ्गणमा राखिएको छ । श्रद्धान्जली सभामा काभ्रेपलाञ्चोकका संघीय सांसदद्वय सूर्यमान दोङ र गोकुलप्रसाद बाँस्कोटा, प्रदेशसभा सदस्यद्वय कञ्चनचन्द्र वादे र लक्ष्मण लम्साल, गृह मन्त्रालयका सचिव दिनेश भट्टराई जिल्लास्थित राजनीतिक दलका नेता तथा कार्यकर्ता एवं स्थानीयवासीको उपस्थिति थियो । दिउँसो मुकेशको शवलाई नगर परिक्रमा गराइ साँझ बनेपास्थित उग्रतीर्थमा अन्त्यष्टि गरिने जनाइएको छ ।
अस्पतालमा उपचारका क्रममा बुधबार साँझ ७ः३० बजे निधन भएका मुकेश जनआन्दोलनमा घाइते हुँदा १५ वर्षका थिए हाल बत्तीस वर्षका उनको स्वास्थ्यमा केही दिनदेखि थप समस्या भएपछि बनेपास्थित शिरमेमोरियल अस्पतालमा उपचाररत थिए।
जनआन्दोलन भइरहँदा बनेपाको तीन दोबाटोमा विसं २०६२ चैत २७ गते मुकेशको बाँया कञ्चटमा सुरक्षाकर्मीको गोली लागेर सख्त घाइते भएका थिए । त्यस दिनदखि उनको होस् नखुल्नाका साथै बाँया हात राम्रोसँग चल्दैनथ्यो । गोलीको घाउ निको भएपनि मुकेशको टाउकोमा गहिरो खाल्डो थियो । सुरक्षाकर्मीले चलाएको गोली लागेर घाइते भएको दिनदेखि ओछ्यानमा परेका मुकेशलाई ‘ज्यूँदो शहीद’ भन्ने गरिन्थ्योे ।
दोस्रो अनआन्दोलनका क्रममा काभे्रपलाञ्चोकको नालाका भिमसेन दाहाल पोखरामा, पनौतीका सगुन ताम्राकार कलङ्कीमा, भिमखोरीका शिवहरि कुँवर बनेपामा र नागे्र गगर्चेका सुनिलकुमार लामा काठमाडौँस्थित जोरपाटीमा मारिएका थिए भने ४० जना घाइते भएका थिए । |
स्थानीयले तहले सीप र बजार प्रवद्र्धनमा जोड दिनुपर्छः उद्योग मन्त्री रिजाल महोत्तरी। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले स्थानीय तहले सीप विकास र बजार प्रबद्र्धनलाई कामको प्राथमिकतामा राख्न आग्रह गरेका छन्।
आज महोत्तरीको बर्दिबास नगर कार्यपालिकाका जनप्रतिनिधि र अगुवा राजनीतिक कार्यकर्तासँगको सामूहिक भेटमा मन्त्री रिजालले नगरका प्रत्येक बस्तीमा बजार बढाउन आग्रह गरे।
बर्दिबास नगर कार्यपालिकाको कार्यालयकै सभाहलमा आयोजित भेटघाटमा उहाँले सीप बढाउन, स्थानीय सीपअनुसारको उत्पादन बढाउन र उत्पादित सामग्रीको बजार बढाउनसके समृद्धिको यात्राले गति लिने उल्लेख गरे।
“जनतालाई सीपसँग, सीपलाई उत्पादनसँग र उत्पादित सामग्रीलाई बजारसँग जोडौँ” रिजालले भने, “स्थानीय तहले यसको नेतृत्व लिउन्, सरकार सहयोग गर्न तत्पर छ ।” प्रत्येक स्थानीय तहमा अब औद्योगिक ग्रामको अवधारणाअनुसार कामअघि बढाउन सम्बद्ध जनप्रतिनिधिले योजना बनाउन आवश्यक रहेको रिजालको भनाइ छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका मन्त्री रिजालले अब दलहरुका नियमित साङ्गठनिक कामका योजनामा पनि जनताको जीवनस्तर उकास्ने स्पष्ट मार्गचित्र र तदनुरुपको काम देखिनपर्ने उल्लेख गरे।
“अब आर्जनको पाटोमा जनतालाई उत्प्रेरित गर्न दलहरुको प्रयत्न देखिनपर्छ” रिजालले भने, “अहिलेसम्मका आन्दोलनका कारण जनताले राजनीतिक अधिकार पाएका छन्, अब समृद्धिका लागि उत्पादन र बजार बढाउन जरुरी छ ।”
एक फरक प्रसङ्गमा मन्त्री रिजालले अहिले प्रहरीले अघि बढाएको नक्कली भुटानी शरणार्थी प्रकरणको कारबाहीमा सरकारी हस्तक्षेप नहुने स्पष्ट पारे।
“जतिसुकै उच्च ओहदाका भए पनि दोषी छन् भने कारबाही हुनपर्छ”, रिजालले भने, “सरकारबाट यो अनुसन्धान कारबाहीमा हस्तक्षेप हुँदैन ।” भ्रष्टाचार मुलुकको समृद्धिको मुख्य बाधक भएको हुँदा यसको नियन्त्रणमा मुलुकका सबै दल सहयोगी बन्नुपर्ने उनको भनाइ छ । |
काठमाडौंमा अन्तर्राष्ट्रिय स्तरको नमुना संयुक्त राष्ट्र संघ वैचारिक युवा समाजद्वारा आयोजित एभरेष्ट इन्टरनेशनल मोडल युनाइटेड नेसन्स (EIMUN २०२३) संयुक्त राष्ट्र संघको एउटा नमुना महासभा हो, जसले विश्वका विभिन्न भागका विद्यार्थी र युवा वर्गलाई संयुक्त राष्ट्र संघको कार्यप्रणालीसँग परिचित हुन र प्रमुख विश्वव्यापी मुद्दा र घटनाबारे छलफल गर्न अवसर प्रदान गर्दछ।
यो महासभा अन्तर्राष्ट्रिय स्तरको शैक्षिक फोरम हो, जसको मूल उद्देश्य सहभागीमा अनुसन्धान, नेतृत्व, कूटनीतिक बहस, लेखन र विशेष गरी बौद्धिक विश्लेषण जस्ता सीप वृद्धि गर्नेमा केन्द्रित छ।
त्यसैगरी युवाहरूको जीवनमा अर्थपूर्ण प्रभाव सिर्जना गर्ने, र बौद्धिक रूपमा सचेत विश्वव्यापी नागरिक बन्न उनीहरूलाई सहयोग गर्ने दीर्घकालीन दृष्टिकोणका साथ EIMUN अघि बढ्दै आएको छ।
सन् २०१४ मा, वैचारिक युवा समाजले नेपालमा पहिलो विश्वविद्यालय स्तरको अन्तर्राष्ट्रिय मोडल संयुक्त राष्ट्र संघ EIMUN बाट आफ्नो यात्रा सुरु गरेको थियो।
सन् २०१६ देखि, यस संस्थाले नेपालमा स्थित अमेरिकी दूतावाससँग सहकार्य गरी EIMUN सञ्चालन गर्दै आएको छ। यस वर्षको सबैभन्दा प्रतिक्षित र भव्य नमुना संयुक्त राष्ट्र संघ, EIMUN को ८ औ संस्करण पाँच दिन लामो सम्मेलन हुनेछ।
यो सम्मेलन यही वर्ष २०२३ को १० जुलाईदेखि १४ जुलाईसम्म काठमाडौंमा आयोजना हँदैछ। सम्मेलनमा दक्षिण र मध्य एसिया र त्यसभन्दा बाहिरका प्रतिनिधिहरु साथै अन्तर्राष्ट्रिय प्रेस र आयोजक समितिसहित २०० जना सहभागी हुनेछन्।
विभिन्न नमुना संयुक्त राष्ट्र संघ अभिमुखीकरण, तालिम र कार्यशालाहरूको सफल समापनसँगै नेपालका सात प्रदेशहरूमा प्रदेश स्तरीय नमुना संयुक्त राष्ट्र संघ सम्मेलनहरूको शृङ्खला आयोजना गरेसहित EIMUN २०२३ ले विश्वभरका युवाहरूको सुदृढ नेटवर्क सिर्जना गर्ने लक्ष्य राखेको छ।
यस सन्दर्भमा वैचारिक युवा समाजले प्रदेश स्तरीय नमुना संयुक्त राष्ट्र संघ सम्मेलनमार्फत यस वर्ष ५०० जना यूवावर्गलाई प्रत्यक्ष रुपमा सशक्त बनाउन सफल भएको छ।
यस कार्यक्रमको थप जानकारी तपाइले वैचारिक युवा समाजको सामाजिक संजाल र EIMUN को वेबसाइट eimun.global मार्फत पाउन सकिने छ। साथै यस कार्यक्रममा भाग लिनको लागि यो लिंक मार्फत दर्ता https://eimun.global/apply-as-a-delegate/ दर्ता गर्नु पर्नेछ।
कार्यक्रममा दर्ता गर्ने अवधि ३१ मेइ सम्म खुल्ला छ। यस सुनौलो अवसरलाई नछुट्टाउनुहोस् र विश्वव्यापी परिवर्तनको हिस्सा बन्न सकिनेछ।
|
उदयपुरगढीको हाडेबास कृषि फार्ममा आगलागी उदयपुर। उदयपुरको मध्यपहाडी क्षेत्रको उदयपुर गढीगाउँपालिका–७ हाडेबासस्थित किसान चोकबहादुर मगरको फार्ममा आज आगालागी हुँदा कृषि फार्मसहित– ४ गोठ र दुई घर गरी सात घर जलेर नष्ट भएको छ।
जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार बिहान ९ बजे विद्युत् सर्ट भई आगलागी सुरु भएको हो। आगलागी हुनासाथ प्रहरीको टोली प्रहरी चौकी चुहाडे, उदयपुरगढी प्रहरी चौकीसहित स्थानीयले आगलागी नियन्त्रणमा लिएको प्रहरी प्रमुख ज्ञानेन्द्रकुमार फुँयालले बताए। – रासस |
ऋषि जल उद्योगकाे प्रशोधित पानीको बोतलमा लेउ भेटियो सिरहा। सिरहामा प्रशोधित पिउने पानीको बोतलमा लेउ भेटिएको छ। गोलबजार नगरपालिका १० का वसन्त कुमार महतोले लहानकाे एक पान पसलबाट किनेको ऋषि जल नामक पानीको बोतलमा कागजको टुक्राजस्तो अखाद्य वस्तु देखिएको हो।
तिर्खाएका महतोले पानी किनेर बोतलकाे बिर्काे खाेल्न लाग्दा बोतल भित्र लेउ देखेपछि बोतल सुरक्षित राखि सञ्चारकर्मीहरुलाई देखाएका छन्। उनले बोतलमा भरिएको पानीमा समेत लापरबाही देखिनु जनस्वस्थ्यमाथिकाे खेलबाड भएको बताए । महतोले भने, ‘पछिल्ला दिनहरुमा मानिसले स्वास्थ्यको ख्याल गर्दै बोतलको पानी किनेर पिउने गरे पनि यसको विश्वसनीयता कम हुँदै गएको छ। पानीमा कहिले कागज, प्लाष्टिकको टुक्रा, मरेका किरा आदि देखिन्छ। यो मानव स्वास्थ्य माथिको खेलवाड हो।’
उनले यहाँ उत्पादन हुने पानीको गुणस्तर नियमनकारी निकायले समय सयमा चेक जाँच र नियमित अनुगमन नगर्दा उत्पादकहरुले लापर्वाही गरेको आरोप लगाए।
पानीमा भेटिएकाे विषयमा धारणा लिने क्रममा ऋषि जल उद्योगकाे आफूलाई म्यानेजर बताउने रामलोचन नामका व्यक्तिले ‘तपाइँले लिएको पानीमा फोहाेर पाइएको भए हामीलाई पठाइदिनुस्, कहाँबाट कमजोरी हुन गएछ त्यसलाई कारबाही गर्छु’ भन्ने जवाफ दिए ।
पानीमै फोहाेर कसरी पस्यो त ? भनेर जिज्ञासा राख्दा उनले ‘पत्रकारहरुको काम छैन, बजारमा खसीको मासु भनेर पाठी (बाख्रा) को मासु बेचिरहेको छ। तपाईंहरु देख्नुहुन्न। एउटा पानीको बोतलका कागजको टुक्रा देखियो भनेर यत्रो कुरा गर्नुहुन्छ’ भन्दै गैरजिम्मेवार जवाफ दिए ।
यस विषयमा सिरहा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले मानिसको स्वस्थयसँग खेलवाड गर्ने कसैको अधिकार नरहेको बताए । उनले भने, ‘हामी तत्काल अनुगमन गर्छौ, अनुगमन गरिसकेपछि ल्याब पठाउँछौ ल्याबको रिर्पोट के आउँछ, त्योअनुसार कानुन बमोजिम कारबाही हुन्छ।’न्युज कारखाना |
विद्यालय पुग्न घण्टौँ हिँड्नुपर्ने बाध्यतामा दुर्गमका विद्यार्थी कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्लाकी मनिषा साउदले यसपटक कक्षा आठ उर्तीण गरिन्। गाउँकै विद्यालयबाट कक्षा आठ उर्तीण गरेकी उनी ब्रह्मदेवस्थित सिद्धनाथ माध्यमिक विद्यालयमा कक्षा नौ मा भर्ना भएकी छन्।
अर्को गाउँको विद्यालय जानुपर्ने हुनाले आजभोलि मनिषाको दैनिकी फेरिएको छ । उनी बिहान सबेरै उठेर विद्यालयका लागि तयारी गर्छन्। विद्यालय आउजाउँ गर्न दैनिक चार घण्टा पैदल हिँड्नुपर्ने बाध्यता छ । “विद्यालय पुग्न दुई घण्टाको बाटो पैदल हिँड्नुपर्छ, बिहान आठ बजे विद्यालय सुरु हुन्छ”, उनले भने, “विद्यालय छोप्न बिहान छ बजे घरबाट निस्किन्छु, कहिलेकाहीँ त ढिलो भएर विद्यालय छुट्छ ।”
खल्लाकै पुष्पा बोहरा पनि ब्रह्मदेवकै सिद्धनाथ माध्यमिक विद्यालयमा पढ्छिन्। सो विद्यालयमा कक्षा १० मा यसपटक भर्ना भएकी उनको पनि दैनिकी यस्तै छ ।
“कक्षा नौँदेखि ब्रह्मदेवको विद्यालय पढ्न आएकी हुँ, विद्यालय आउजाउ गर्न दैनिकी चार घण्टा हिँड्नुपर्छ”, उनले भनिन्, “कच्ची बाटोमा अटो र बस चल्छ, तर दैनिक भाडा तिरेर जानसक्ने आर्थिक स्थिति छैन ।”भीमदत्त –९ अन्तर्गत चुरे क्षेत्रमापर्ने टुँडिखेल, खल्ला र मुसेट्टी दुर्गम बस्ती हुन । गाउँमा माध्यमिक शिक्षा अध्ययनका लागि विद्यालय नहुँदा त्यहाँका विद्यार्थी दुई घण्टा पैदल हिँड्नुपर्ने बाध्यतामा छन् ।
“बिदा १२ बजे हुन्छ, बालबालिका भोकाएर अन्तिम कक्षा नपढेर घर फर्किन्छन्”, भीमदत्त –९ खल्लाका सुरेन्द्र कठायतले भने, “कतिपयले त हिँड्नुपर्ने दुखले विद्यालय नै छोडेका छन् ।”पहाडी भेगको झल्को दिने चुरेका तीन बस्तीमा एउटा पनि माध्यमिक विद्यालय छैन । टुँडिखेलमा कक्षा पाँच, मुसेट्टीमा कक्षा तीन र खल्लामा कक्षा आठ सम्मको पढाइ हुने गरेको छ ।
यसले गर्दा यहाँका विद्यार्थी माध्यमिक शिक्षाका लागि ब्रह्मदेव झर्नुपर्ने बाध्यता रहेको उनी बताउँछन्। “यहाँसम्म पुग्ने कच्ची बाटो छ, बर्खामा त्यहीँ बाटो पनि बिग्रिन्छ”, उनले भने, “नानीबाबुहरुलाई जोखिम मोलेर विद्यालयसम्म पुग्छन् ।”
कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीले पनि यस्तै सास्ती व्यहोर्नु परेको छ । लामो बाटो पैदल हिँड्नुपर्ने हुनाले कतिपयले त आफ्ना छोराछोरी अध्ययनका लागि महेन्द्रनगरमा कोठा भाडामा लिएरसमेत बसाल्ने गरेका छन् । दैनिक आउन जान गरेर चार घण्टा पैदलमै खर्चिनु पर्दा विद्यालय समयबाहेक अन्य समय पढाइमा खर्चन नपाएको विद्यार्थीको गुनासो छ ।
“गाउँमा मावि तहसम्म पढ्ने विद्यालय वा अर्को गाउँको विद्यालयमा जान सुपथ मूल्यमा स्कुल बसको व्यवस्था भए सहज हुन्थ्यो”, बालिका उर्मिला कठायतले भनिन्, “लामो समय हिँडेर विद्यालय पुग्दा थकाइ लाग्छ र पढाइमा धेरै समय दिन सकिँदैन, गाउँमै सहज रूपमा पढ्ने व्यवस्था हुनुप¥यो ।”
आधारभूत तहको शिक्षा गाउँमै पढ्ने व्यवस्था भए पनि माथिल्लो तहको शिक्षा लिन अन्यत्र घण्टौँ हिँडेर जानुपर्दा निकै समस्या हुने गरेको उनको गुनासो छ ।रासस |
कालीगण्डकी करिडोरको प्रसारण लाइन असारभित्र नबने ३०० मेगावाट विद्युत खेर जाने सम्भावना काठमाडौं। कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाको निर्माण अगामी असारभित्र सम्पन्न गर्ने गरी काम भइरहेको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना सबस्टेसनबाट सुरु भई पर्वत, बागलुङ, स्याङ्जा, पाल्पा, रुपन्देही हुँदै नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिका–१३ भुमहीस्थित नयाँ बुटवल सबस्टेसनसम्मको १२७ किलोमिटर डबल सर्किट प्रसारण लाइन आयोजना दुई खण्डमा विभाजन गरी निर्माण भइरहेको छ ।
पहिलो खण्डअन्तर्गत दानादेखि पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटसम्मको ३९ किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ । पहिले खण्डमानै खुर्कोटमा २२०/१३२ केभी र दानामा २२०/१३२/३३ केभी सबस्टेसन निर्माण सम्पन्न भइसकेका छन् ।
दोस्रो खण्डअन्तर्गत कुश्माबाट नयाँ बुटवल सबस्टेसनसम्मको ८८ किलोमिटर प्रसारण लाइन निर्माण अन्तिम चरणमा छ । यस खण्डको निर्माण आगामी असारभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । यस खण्डमा पर्ने २३५ वटा टावरहरुमध्ये पर्वतमा तीन वटा, पाल्पामा १ वटा, रुपन्देहीमा ५ वटा निर्माणाधीन छन् । निर्माण सम्पन्न भएका टावरहरुमा तार तानिसकिएको छ ।
नवलपरासीको सुनवल नगरपालिका–१३ बडेराबाट नयाँ बुटवल सबस्टेसनसम्म २२० केभीको चार सर्किट (मल्टी सर्किट) लाइनमा पर्ने १७ वटा टावरहरु निर्माण सम्पन्न भइसकेको छ । ५.६ किलोमिटर मल्टी सर्किट लाइनमध्ये २.९ किलोमिटरमा तार तान्न बाँकी रहेको छ ।
बडेरा सामुदायिक वन उपभोक्ता समितिले व्यवस्थापन गरेको वन क्षेत्रमा पर्ने लाइन तान्नका लागि १ हजार १ सय ५० रुख कटान गर्नु पर्ने छ । मन्त्रिपरिषद्बाट वन क्षेत्रको जग्गा प्रयोग र त्यहाँ रहेका रुख कटानका लागि स्वीकृति भइसकेको छ । वन तथा भू–संरक्षण विभागसँग सम्झौता गरी रुख कटान आदेश लिने प्रक्रियामा रहेको छ ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रुपन्देहीको पाल्पा, देवदह र नवलपरासीमा निर्माणाधीन प्रसारण लाइन निर्माण स्थलको अनुगमन भ्रमण गरी असारभित्र सम्पन्न गर्ने गरी काम गर्नुपर्ने बताए ।
कार्यकारी निर्देशक घिसिङले नवलपरासीका प्रमुख जिल्ला अधिकारी, लुम्बिनी प्रदेश, वन निर्देशनालयका निर्देशकलाई छुट्टाछुट्टै भेटी राष्ट्रिय प्राथमिकता प्राप्त तथा अत्यन्तै महत्वपूर्ण लाइनको निर्माण सम्पन्न गर्ने आवश्यक सहयोग र सहजीकरण गरिदिन अनुरोध गरे ।
‘यो लाइन असारभित्रमा निर्माण सम्पन्न भएन भने जलविद्युत आयोजनाहरुबाट उत्पादित करिब ३ सय मेगावाट विद्युत् प्रवाह गर्न नसकी खेर फाल्नु पर्ने अवस्था छ, यस्तो अवस्था आउनु प्राधिकरणका लागि मात्र नभई देशकै लागि घाटा हो’, उनले भने, ‘निर्माण अन्तिम चरणमा पुगेको यस लाइनलाई सम्पन्न गर्न आवश्यक सहयोग र सहजीकरण गरिदिनु पर्यो ।’
आयोजना प्रमुख प्रमुख चन्दन घोषले निर्माणमा रहेका अधिकांश समस्या समाधान हुँदै गएकाले असारभित्रमा जसरी पनि सम्पन्न गर्ने लक्ष्यका साथ बाँकी काम भइरहेको बताए ।
कालीगण्डकी र यसका सहायक नदीहरुमा निर्माण हुने जलविद्युत आयोजनाहरुको विद्युत प्रवाहका लागि नेपाल सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा कालीगण्डकी करिडोर प्रसारण लाइनको निर्माण सुरु गरिएको हो । प्रसारण लाइनबाट करिब १ हजार २ सय मेगावाट विद्युत् प्रवाह गर्न सकिन्छ । |
एशियन पेन्ट्स नेपालको कलर नेक्स्ट २०२३ सम्पन्न काठमाडौँ। एशियन पेन्ट्स नेपालले कलर नेक्स्ट २०२३ को सफलतापूर्वक आयोजना गरेको छ। जसमा सोसाइटी अफ नेपालिज आर्किटेक्ट्स (SONA) र इन्टेरियर डिजाइनर एसोसिएसन नेपाल (IDEA Nepal) लगायतका संस्थाबाट प्रख्यात आर्किटेक्ट र इन्टेरियर डिजाइनरहरूको सहभागिता रहेको थियो ।
एसियन पेन्ट्सले वार्षिक रूपमा कलर नेक्स्ट आयोजना गर्दै आएको छ, जसले विश्वव्यापी, सामाजिक–सांस्कृतिक तथा वातावरणीय प्रवृत्तिहरूको अध्ययन गरेर डिजाइनको दिशानिर्देश हासिल गर्न योगदान पुर्याउँदै आएको छ ।
यस कार्यक्रमका सहभागीहरूले डिजाइन उद्योगमा प्रासंगिकतायुक्त फरक प्रवृत्ति (ट्रेन्ड)हरू पत्ता लगाउन विशेषज्ञ अन्तरवार्ता, संयुक्त कार्यशालाहरूका साथै अनुसन्धानमार्फत ६ महिना कडा अनुसन्धान गर्नुपर्ने हुन्छ।
बैशाख २७ गते हयात रिजेन्सी होटलमा आयोजित कलर नेक्स्ट २०२३ कार्यक्रममा एशियन पेन्ट्स ग्लोबलका प्रमुख कार्यकारी अधिकृत प्रज्ञान कुमारले स्वागत मन्तव्यबाट आरम्भ भएको कार्यक्रममा एशियन पेन्ट्स ग्लोबलका क्षेत्रीय प्रमुख सिरीश राव र एशियन पेन्ट्स नेपालका प्रमुख (कन्ट्री हेड) जी गोपालकृष्णनद्वारा संक्षिप्त प्रस्तुति रहेको थियो, जसमा आर्किटेक्ट तथा इन्टेरियर डिजाइनरहरूसँग एशियन पेन्ट्सको सहकार्यलाई जोड दिईएको थियो।
कार्यक्रमको मुख्य आकर्षणको रुपमा एसियन पेन्ट्स ग्लोबलका ब्रांड प्रबंधक मारिशा रेगो डिसूजाले यस वर्षका लागि चार प्रवृत्ति (ट्रेन्ड) हरू घोषणा गरे।
र आर्किटेक्ट माधव रमनले कलर अफ द इयर Silver Escapade को बारेमा प्रस्तुत गरे। |
मोटरसाइकल दुर्घटनामा आमाको मृत्यु, छोरा घाइते बिराटनगर। छोराले चलाएको मोटरसाइकल दुर्घटनामा परी आमाको मृत्यु भएको छ।
मोरङको रंगेली नगरपालिका–५ धनापट्टीमा छोराले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा पछाडी बसेकी आमाको मृत्यु भएको हो।
मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुनीलकुमार श्रेष्ठका अनुसार प्रदेश १–०२–०४९ प ७८३६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटनामा हुदाँ आमा मानकीदेवी साहको मृत्यु भएको हो। उनका अनुसार गम्भीर घाइते भएकी ५० बर्षिया मानकी देवीको उपचारका क्रममा विराटनगरस्थित गोल्डेन अस्पतालमा बुधवार राति निधन भएको हो।
दुर्घटनापछि छोरा २९ वर्षीय दिनेशकुमार साहले उपचारका लागि आमालाई अस्पताल लगेका थिए। उक्त दुर्घटनामा आमा मानकीदेवीको मृत्यु भए पछि छोरामाथी भने अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। |
थाहा पाउनुहाेस् आजको मौसम काठमाडौं। हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।
दिउँसो गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने छ।
गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानहरुमा सामान्य हावा हुरीको सम्भावना रहेको छ। राति देशभर मौसम सामान्यतया सफा रहने छ। |
क्यानडा तथा चेक रिपब्लिक पठाइदिन्छु भन्दै लाखौँ रकम ठगी काठमाडौं। क्यानडा र चेक रिपब्लिक पठाइदिन्छु भनी लाखौँ रकम ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
सिन्धुलीको कमलामाई नगरपालिका–४ घर भई हाल काठमाडौँको नयाँ बजार बस्ने ३४ वर्षका उद्धव नेपाल भन्ने सुवर्ण मग्रातीलाई प्रहरीले पक्राउ गरेको हो ।
उनले बाबुराम सापकोटासमेत चार जनालाई वैदेशिक रोजगारीका लागि क्यानडा तथा चेक रिपब्लिकलगायतका देशमा पठाउने लोभ देखाएर त्यहाँ जानका लागि प्रतिव्यक्ति रु १० लाख लाग्ने भन्दै रकम असुलेको पाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।
त्यहाँ पुगेपछि प्रतिष्ठित अटोमोबाइल कम्पनीमा जनरल वर्करको काम लगाइदिने र त्यहाँबाट मासिक रु दुई लाखसम्म तलब पाइने भन्दै उनले पीडितबाट रु पाँच लाख असुलेको फेला परेको छ ।
यसरी रकम लिएपछि फरार भएका उनलाई वैदेशिक रोजगार विभागबाट पक्राउ गरी उपस्थित गराइदिन गरेको अनुरोधको आधारमा पक्राउ गरी आजै थप अनुसन्धान तथा कारबाहीका लागि विभागमा बुझाइएको रेग्मीले बताए।
नक्कली विज्ञापन गरी ठगी
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले मोबाइल बिक्रीको नक्कली विज्ञापन राखी ठगी गर्नेलाई पनि पक्राउ गरेको छ । पक्राउ परेका धनुषाका आदित्य कर्णले विभिन्न मोडेलका मोबाइल सेट किन्नका लागि सम्पर्कमा आएमा आएका व्यक्तिलाई पोखरा, चितवनलगायतका स्थानमा मोबाइल पसल छ भनी कुरियर, कार्गोलगायतका माध्यमबाट मोबाइल डेलिभरी गरी पठाइदिन्छु भन्दै रकम ठगी गरेका थिए ।
उनले यसरी झुक्यानमा पारी अर्डरबमोजिमको मोबाइल उपलब्ध नगराई १५ जनाबाट रु चार लाख ८५ हजार ठगी गरेको उजुरी परेको थियो । उनलाई ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि आजै जिल्ला प्रहरी परिसर, टेकु पठाइएको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिए।
––– |
आगलागीका घाइतेलाई उपचारका लागि नेपालगञ्ज लगियो काठमाडौं । दैलेख जिल्लाको राकम इलाकामा भएको आगलागीको घटनामा परी घाइते भएका स्थानीयवासीलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट नेपालगञ्ज लगिएको छ ।
नेपाल प्रहरी र स्थानीय व्यक्तिले उद्धार गरेपछि घाइतेलाई त्यहाँबाट उपचारका लागि हेलिकप्टरद्वारा नेपालगञ्ज लगिएको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।आगलागीमा परी घाइते भएकामध्ये आठ जनालाई दुई पटक गरी नेपालगञ्ज पु¥याइएको बताइएको छ । |
परीक्षा हलबाट निश्कासित गरेपछि चितवन मेडिकल कलेजकी छात्राले गरिन् आत्महत्या चितवन । चितवन मेडिकल कलेजमा बीडीएस चौथो वर्षमा अध्ययनरत विद्यार्थी सिम्रन थापाले झुण्डिएर आत्महत्या गरेकी छन् । परीक्षा हलमा चिट चोरेको भन्दै निरीक्षकले हलबाट बाहिर निकालेपछि उनले कोठामा गएर आत्महत्या गरेकी हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक निर्मल पनेरुले मृतकको साथबाट कुनै सुसाइट नोट नभेटिएको तर मेडिकल कलेजमा बुझ्दा परीक्षामा चिट चोरेपछि उनलाई हलबाट निकालिएको बुझ्न आएको बताए ।
पाल्पा रामपुर स्थायी ठेगाना भइ पोखरा बस्ने मृतक थापा भरतपुर सप्तगण्डकी चोक स्थित गंगाबहादुर थापाको घरमा डेरा गरी बसेकी थिइन् । उनले आफु सुत्ने कोठाको सिलिङ पंखामा सलको पासो लगाई झुण्डिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवबाट ५०० मिटर उत्तरमा सो घटना घटेको थियो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनापछि चितवन मेडिकल कलेजमा इमरजेन्सीबाहेकका सबै सेवा बन्द गरिएको छ ।
मेडिकल कलेजका विद्यार्थीहरुले आज प्रेषित गरेको विज्ञप्तिमा मृतक थापाले आन्तरिक परीक्षा दिइरहेको समयमा परीक्षामा खटिएको शिक्षकले जबरजस्ती मानसिक तनाव दिई परीक्षा हलबाट निकालेपछि उनी आत्महत्या गर्न बाध्य भएको जनाइएको छ । विद्यार्थीहरुले घटनाको छानबिन गरी दोषीमाथि कडा कारबाहीका माग राख्दै इमरजेन्सीबाहेक कलेजका सबै सेवा बन्द गरेका छन् । |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.