content
stringlengths
20
64.1k
प्रहरीले भन्यो- नक्कली भुटानी शरणार्थी प्रकरणबारे तथ्यमा आधारित समाचार सम्प्रेषण गर्नू काठमाडौं। नेपाल प्रहरी प्रधान कार्यालय महानिरीक्षकको सचिवालयले नक्कली भुटानी शरणार्थी प्रकरणबारे  सही, सत्य र तथ्यमा आधारित सूचना र समाचार सम्प्रेषण गर्न आग्रह गरेको छ । बुधबार सचिवालयको तर्फबाट प्रहरी वरिष्ठ उपरीक्षक दिपेन्द्र जिसीले विज्ञप्ति जारी गरेर सही, सत्य र तथ्यमा आधारित सूचना र समाचार सम्प्रेषण गरी नेपाल प्रहरीलाई अनुसन्धान कार्यमा सहयोग गरिदिन आग्रह गरेका हुन् । तथ्य र वस्तुगत प्रमाणमा आधारित रहेर अनुसन्धानलाई सारभूत रुपमा निष्कर्षमा पुर्‍याउन नेपाल प्रहरी प्रतिवद्ध रहेको उनको भनाइ छ । केही दिनयता प्रकाशित, प्रसारित समाचारले आफ्नो ध्यानाकर्षण भएको जनाउँदै विज्ञप्तिमा लेखिएको छ, ‘हालका दिनहरुमा कतिपय अनलाईन तथा छापा मिडियाहरु र विभिन्न सामाजिक सञ्जालहरुमा प्रहरीबाट अनुसन्धानको क्रममा रहेको भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै नेपाली सर्वसाधारणहरुलाई ठगी गरी संगठित अपराध गरेको मुद्दाको विषयलाई लिएर गलत, मनोगत, अनुमानमा आधारित भ्रमपूर्ण समाचार सम्प्रेषण भएको सन्दर्भमा नेपाल प्रहरीको ध्यानाकर्षण भएको छ ।’
बेमौसमी आलु खेतीः सोचेभन्दा बढी उत्पादन कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका–१२ कालागौंडीका किसान बमनु राना बेमौसमी जातको आलु खेतबारीमा रोपेर सोचेभन्दा बढी उत्पादन गर्न सफल हुनुभएको छ । डिजिरे जातको ४० किलो आलु खेतबारीमा रोपेर उनले छ क्विन्टल उत्पादन गरेका छन्। नगरपालिकाको कृषि शाखाबाट ५० प्रतिशत अनुदानमा आलुको बीउ पाएका उनले पहिलो पटक परीक्षणका रुपमा आलु रोपेका हुन्। एउटै बोटमा दुई किलोसम्म आलु उत्पादन भएको उनले बताए। “आधा कट्ठा जग्गामा अनुदानमा पाएको आलु रोपेको थिए”, बमनुले भने, “अपेक्षा गरेभन्दा निकै बढी उत्पादन भएपछि उत्साहित बनाएको छ ।” अब बढी जग्गामा आलु रोप्ने योजना बनाएको उहाँले सुनाए। उनका अनुसार बेमौसमी आलुको माग निकै बढी रहेको छ । “रु एक सयप्रति किलोका दरले आलुको बीउ बिक्री गर्दा पनि किसानले माग गर्न छाडेका छैनन्”, उनले भने, “आफूलाई रोप्न राखेर बीउ अरूलाई बेच्न थालेको छु ।” फागुनमा रोपेको बेमौसमी आलुलाई किसानले वैशाखको दोस्रो सातादेखि खन्न सुरु गरेका छन् । खानमा निकै स्वादिलो र अरू आलुको तुलनामा उत्पादन तेब्बर बढी हुने गरेको किसानको भनाइ छ । कालागौंडीका किसान ठग्गु रानाले बेमौसमी आलु खेतीलाई व्यावसायिक रुपमा अगाडि बढाउने बताए। पहिलो पटक खेती गर्दा निकै बढी उत्पादन भएकाले एक बिघामा खेती गर्ने योजना बनाएको उनले बताए। पहाडी क्षेत्रमा मात्रै लगाइने गरेको बेमौसमी आलु तराईमा पहिलो पटक खेती गरिएको वडाध्यक्ष नवलसिंह रानाले बताए। “नगरपालिकाले आलुको बीउको गरेको परीक्षण सफल भएको छ”, उनले भने, “बढी उत्पादन हुने आलु प्रवर्द्धन गर्न वडा कार्यालयबाट योजना बनाइ किसानलाई बीउ, रासायनिक मल र सिँचाइमा प्रोत्साहित गर्छौं ।” नगरपालिकाको कृषि शाखाका प्रमुख करनसिंह बुढाऐरले परीक्षणका रुपमा बेमौसमी आलुको बीउ चारभन्दा बढी वडाका किसानलाई अनुदानमा वितरण गरिएको बताए। “झन्डै २० क्विन्टल बढी आलु किसानलाई ५० प्रतिशत अनुदानमा उपलब्ध गराएका हौँ”, उनले भने, “४० बढी किसानले बेमौसमी आलु खेती गरेका छन्, उत्पादन सन्तोषजनक भएको प्रतिक्रिया पाइएको छ ।” बेमौसमीसँगै स्थानीय जातको आलु खेतीलाई प्रवर्द्धन गर्न किसानलाई आगामी योजनामा पनि निरन्तर रुपमा अनुदान उपलब्ध गराउने योजना रहेको उनले जानकारी दिए। किसानलाई उपलब्ध गराइएको २० क्विन्टल आलुको बीउबाट ८५ क्विन्टल बढी आलु उत्पादन भएको कृषि शाखाको अनुमान छ । उत्पादन भएको आलुलाई कृषि शाखाले अरू आलु खेती गर्न चाहने किसानलाई उपलब्ध गराउने योजना बनाएको छ ।
नेक्सन इभी म्याक्स अब नेपाली बजारमा काठमाडौँ। यातायात क्षेत्रको द्रुत विद्युतीकरण गर्ने आफ्नो प्रतिवद्धता अनुरुप टाटा मोटर्सले आजबाट नेक्सन इभी म्याक्सको नेपाली बजारमा विक्री वितरण शुभारम्भ गरेको छ। कम्पनीको सर्वोत्कृष्ट ढंगले बिक्री भइरहेको नेक्सन इभीको विस्तारित स्वरूप यो नँया गाडी ७.२ किलोवाट चर्जिंगको व्यवस्था सहित रु .४६ लाख ४९ हजारको आकर्षक मूल्यमा उपलब्ध छ। उत्कृष्ट एवं दिगो “मोबिलिटी”मा विश्वास राख्ने ग्राहकहरुलाई लक्षित नेक्सन इभी म्याक्सले देशको समग्र विद्युतीय सवारी साधनको बजारलाई नँया उचाई पुर्याउने अपेक्षा गरिएको छ। उच्च भोल्टेजको उच्चतम जिपट्रन प्रविधियुक्त यो विद्युतीय गाडी इन्टेन–टिल, डेटना र प्रिसटिन गरी तिनवटा आकर्षक रंगहरुमा उपलब्ध छ। त्यसैगरी, स्ट्यान्डर्ड रंगको रुपमा डुएल टन बडी पनि उपलब्ध छ। ४०.५ किलोवाट–प्रति घण्टा क्षमता भएको लिथिएम ब्याट्री प्याक जडित नेक्सन इभी म्याक्सको ब्याट्रीको क्षमता अन्य ब्याट्रीहरु भन्दा ३३ प्रतिशतले बढी छ। यस कारणले यो गाडीले विना कुनै झञ्झट एआरएआईद्वारा प्रमाणित ४५३ किलोमिटर लामो रेञ्जको प्रत्याभूति गर्दछ। यसले १०० किलोवाट बराबरको शक्तिको अतिरिक्त पेडल थिच्ने बितिक्कै २५० एनएम बराबरको टर्क पैदा गर्छ। यस गाडीमा प्रयोग हुने ७.२ किलोवाटको एसी फास्ट चार्जर घर वा कार्यालयमा जडान गर्न सकिन्छ । जसले ६.५ घन्टाको छोटो अवधिमा नै चर्जिंग कार्य सम्पन्न गर्दछ। नेक्सन इभी म्याक्सको ब्याट्री कुनै पनि ५० किलोवाटको डिसी फास्ट चार्जरको माध्यमबाट केवल ५६ मिनेटमा ० देखि ८० प्रतिशतसम्म चार्ज हुन्छ जुन आफैमा अभूतपूर्व छ। “नेपाली ग्राहकहरुले अत्याधिक रुचाएका नेक्सन र टिगोर मोडेलका इभीहरुको साथ टाटाले विगत केहि समयदेखि नेपालको विद्युतीय सवारी साधनको विकास एवं विस्तारमा अग्रणी भूमिका खेलिरहेको छ। यसै सन्दर्भमा नेक्सन इभी म्याक्सको बजारमा विक्री वितरण आरम्भसँगै यस्तो भूमिका अझ सुदृढ हुने हामीले अपेक्षा गरेका छौँ”, टाटा मोटर्स पेसेन्जर भेहिकल लिमिटेड एवं टाटा पेसेन्जर इलेक्ट्रिक मोबिलिटी लिमिटेडका प्रबन्ध निर्देशक शैलेस चन्द्र भन्छन्। “अत्याधुनिक जिपट्रन प्रविधियुक्त नेक्सन इभी म्याक्समा जस्तोसुकै मौसम र सडक अवस्थामा यात्रा गर्न सकिन्छ । साथै, रेञ्ज, आराम र बनावट जस्ता दृष्टिकोणले पनि यो सर्वोत्कृष्ट छ । त्यसैले विद्युतीकरणको दिशामा अगाडि बढिरहेको नेपाली अटोमोबाइल बजारमा यसले अमिट छाप छोड्न सफल हुनेमा हामी विश्वस्त छौँ”, उनी थप्छन्। चन्द्रका अनुसार यो विद्युतीय एसयूभीले नेपाली ग्राहकहरुको विद्युतीय गाडीको अनुभवमा एक नयाँ आयाम थपी टाटा ब्रान्डको छविमा सकारात्मक योगदान पुर्याउने छ। त्यस्तै, सिप्रदी ग्रुप अफ कम्पनीका अध्यक्ष सिद्धार्थ शमशेर ज.ब.राणा नेक्सन इभी म्याक्स नेपाली ग्राहकहरुको बदलिंदो आवश्यकता एवं इच्छालाई परिपूति गर्ने एक नविन सौगात भएको बताउँछन्। उनी यो गाडी सिप्रदी र टाटा मोटर्स बीचको न्यानो साझेदारीमा एक नयाँ कोशेढुंगा सावित हुनेमा विश्वस्त छन्। राणाका अनुसार सिप्रदी भविष्यका दिनहरुमा टाटा मोटर्सका उच्चस्तरका उत्पादनहरु नेपाली बजारमा निरन्तर ल्याउन सदैव उत्साहित एवं प्रतिवद्ध छ।
स्रोत नखुलेको नगदसहित दुई भारतीय नागरिक पक्राउ पर्सा। बिन्दबासीनी गाउँपालिका-५ प्रसौनिभाठ्ठा पुलस्थित सडकबाट स्रोत नखुलेको १२ लाख नेपाली रूपैयाँसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा भारत पूर्वी चमपारण ग्राम पञ्चायत भेलाही बस्ने ४० वर्षीय धनन्जय कुमार गुप्ता र २६ वर्षीय मुसाहेब आलम रहेका छन्। प्रहरी चौकी प्रसौनीभठ्ठाबाट खटिएको प्रहरीले वीरगंजबाट प्रसौनिभाटातर्फ जाँदै गरेको बिआर ०५ एस ४७०२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
मुगु हिमपहिरो अपडेट : १० फिट हिउँ जमेकाले बेपत्ता खोज्न समस्या मुगु। अत्यधिक हिमपातका कारण मुगुम कार्मारोङ गाउँपालिका–१ र २ मा पर्ने च्याँखुलेकमा हिमपहिरोमा परी बेपत्ता भएका तीन जनाको खोजी गर्न समस्या भएको छ। सो क्षेत्रमा १० फिटभन्दा बढी हिउँ जमेकाले उनीहरुको खोजी हुन सकेको छैन। यही वैशाख २२ गते च्याँखुलेकमा हिमपहिरोमा परी यार्सागुम्बा सङ्कलन गर्न गएका जुम्लाको पातारासी गाउँपालिका–२ तल्फीगाउँका ४० वर्षीय तारासिंह सार्की (४०), ३५ वर्षीय पुन्न सार्की र ३५ वर्षीय बीर बोहोरा बेपत्ता भएका थिए। उनीहरुको खोजीमा मंगलबारदेखि सुरक्षाकर्मी लागिपरे पनि बाक्लो हिउँ जमेकाले समस्या भएको प्रहरी नायब उपरीक्षक मोहनबहादुर बस्नेतले जानकारी दिए। नेपाली सेनाको हेलिकोप्टरमार्फत वैशाख २४ गते बेपत्ताको खोजीका लागि सुरक्षाकर्मीसहित २३ जनालाई घटनास्थलमा पठाएको थियो। सुरक्षाकर्मीले घटनास्थलभन्दा चार घण्टा तल बेँसीमा रहेको छापाखोलामा क्याप राखी बेपत्ताको खाजी गर्दै आएको छ। घटनास्थलसम्म सुरक्षाकर्मी पुग्न भने सकिरहेको छैन्। आज पुनः उनीहरुको खोजी गरिने प्रहरी नायब उपरीक्षक बस्नेतले बताए। “डोरी र लठ्ठीको सहाराले बेपत्ताको खोजी भइरहेको छ, बाक्लो हिउँ छ, त्यसमाथि हिउँ लगातार परिरहेको छ”, उनले भने। – रासस
सम्मान नपाएको भन्दै भाग्न खोज्ने भारतीय बेहुला र उनका बाबु पक्राउ बारा । बारामा विवाहमा पहुनाहरुलाई राम्रोसँग स्वागत नगरेको भन्दै भाग्न लागेको भारतीय बेहुला र उनका बुबालाई बारा प्रहरीले पक्राउ गरेको छ। प्रहरीले बेहुला भारत जिल्ला पूर्वी चम्पारण ग्राम पंचायत कथवलिया सुगौली बस्ने २३ बर्षिय शशी कुमार चौरसिया र उनका बुबा ४६ बर्षिय श्यामकान्त भगतलाई पक्राउ गरेको हो । आइतबार राति बेहुला शशिको बिबाह बाराको महागढीमाई नगरपालिका–६ बबुआईन बस्ने कालिचरण प्रसाद चौरसियाको छोरीसँग हुने तय थियो। राति भारतबाट जन्ती लिएर आएका बेहुलाले जन्तीमा आएका पाहुनाहरुलाई बेहुली पक्षले  भनेअनुरुप चलनचन्तिको राम्रो सँग स्वागत सत्कार नगरेको भन्दै बिहे नगर्ने भनि स्टेजबाट भाग्न लागे त्यसपछि सुरु भयो विवाद । विवाद बढ्दै गएपछि हातपात हुन थाल्यो । उनीहरू जन्तीसहित कालीचरणप्रसाद चौरसियाकी २१ वर्षीया छोरी मनिषासित विवाह गर्न आएका थिए । वरमाला हुने स्वयम्बर ९स्टेज० को सजावट राम्रो नभएको र जन्तीहरूको सेवा–सत्कार राम्रो नभएको भन्दै बेहुला स्वयम्बरबाट हिँड्न खोजेपछि बेहुली र बेहुलाका बाबुबीच विवाद बढेर कुटाकुटको अवस्थासम्म सिर्जना भएको थियो । सोहीक्रममा बेहुलाका बुबा श्यामकान्त भगतले बेहुलीका बुबालाई विभिन्न किसिमको अश्लील शब्दहरु प्रयोग गरी हातपातसमेत गर्न खोजेको र बिहे नगर्ने भनि बेहुला भाग्न खोजेपछि विवाह मण्डपमा पुगेको प्रहरीले बेहुला र उनका बुबालाई पक्राउ गरेको बाराका प्रहरी प्रवक्ता डिएसपी पुरुषोत्तम पाण्डेले जानकारी दिए। पक्राउ परेका बेहुला र उनका बुबाउपर अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय कलैयाबाट १० दिनको म्याद थप गरी अनुसन्धान कार्य भइरहेको पाण्डेले बताए।
काठमाडौँकी उपमेयर डंगोलले चीनमा आफ्नो प्रस्तुतिकरण दिने काठमाडौँ। काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले चीनमा आज आफ्नो प्रस्तुतिकरण गर्दैछिन्। चीनको छाङ्सा सहरमा मंगलबारबाट सुरु भएको ‘छाङ्सा फ्राग्रान्ट टुरिजम समिट’ मा नेपालकोतर्फबाट उपमेयर डंगोलले आफ्नो प्रस्तुतिकरण दिन लागेकी हुन्। वर्ल्ड टुरिजम सिटिजन फेडेरेसन (डब्लुटिसिएफ) को निमन्त्रणामा मंगलवार चीन प्रस्थान गरेकी उपमेयर डंगोलले आज काठमाडौँको सहरी पर्यटनको सम्भावनाका लागि लोक तथा सांस्कृतिक जीवन, कला, साहित्य र सिर्जना विषयमा आफ्नो प्रस्तुतीकरण दिने छिन् । ‘विश्व पर्यटन पुनरुत्थानका लागि सहरको शक्ति’ भन्ने थिममा सो प्रस्तुतीकरण हुने महानगरपालिकाले जनाएको छ।
पढाइसँगै करेसाबारी स्याहार्दै विद्यार्थी टीकापुर। कैलालीको जानकी गाउँपालिकामा विद्यार्थी पढाइसँगै करेसाबारीमा व्यस्त रहने गरेका छन्। जानकी–२ स्थित जय पार्वती आधारभूत विद्यालयमा ‘विद्यालय करेसाबारी कार्यक्रम’अन्तर्गत उनीहरुले खेतीसमेत गरेका छन्। विद्यार्थीले पाँच कठ्ठा जमिनमा तरकारी खेती गरेका छन्। विद्यालयको हाताभित्र गरिएको तरकारी खेतीबाट विद्यार्थीमा कृषिप्रति उत्प्रेरणा दिँदै आधुनिक कृषि कर्म गर्ने अभिभावकलाई फाइदा पुग्ने लक्ष्य गाउँपालिकाले लिएको छ। तरकारी खेतीमा काम गर्ने किसान नभई विद्यालयमा अध्ययनरत आधारभूत तहका विद्यार्थी छन्। विद्यालय तहबाटै कृषितर्फ विद्यार्थीको उत्प्रेरणा जगाउन गाउँपालिकाले नमूनाका रूपमा केही विद्यालयमा ‘विद्यालय करेसाबारी कार्यक्रम’ लागू गरेको हो। सोही कार्यक्रमअन्तर्गत विद्यालय करेसाबारी कार्यक्रमबाट आफूहरूले कृषिसम्बन्धी सैद्धान्तिक र व्यवहारिक सिकाइ गर्न पाएको विद्यार्थी बताउँछन्। विद्यार्थी सुरजा प्याकुरेल कृषिसम्बन्धी सिकाइ भइरहेको बताउँछिन्। “हामीले बारीमा काम गर्न रुचि नै देखाउने गरेका थिएनौँ । घरमा आमाबुवाले बारीमा काम गर्दा हामीले कहिल्यै चासो दिएनौँ”, उनी भन्छिन्, “अब विद्यालयमा पढाइ नै हुन थालेपछि सिक्न थाल्यौँ, अब घरमा अभिभावकलाई पनि तरकारी खेती गर्ने तरिकाबारे सिकाउँदैछौँ । बल्ल कृषि पनि पढाइ रहेछ भन्ने बुझ्न थालेका छौँ।” कृषि पेसालाई व्यावसायिक बनाउन तथा कृषिमा दक्ष जनशक्ति उत्पादनका लागि अभिप्रेरणा दिन गाउँपालिकाले पालिकाभित्रका तीन सामुदायिक विद्यालयमा ‘विद्यालय करेसाबारी कार्यक्रम’ सञ्चालन गरेको छ। करेसाबारी कार्यक्रम सञ्चालन हुँदा आफूले विद्यालयमा सिकेको कृषि ज्ञानलाई घरमा आफ्ना आमाबुवालाई जानकारी गराउने गरेको कल्पना गिरी बताउँछिन्। “तरकारी खेतीबारे सिकाइसँगै मिलेर काम गर्दा रमाइलो हुन्छ। हामी रमाउँदै खेती गर्न सिकिरहेका छौँ”, उनी भन्छिन्, “हामीले नयाँ प्रविधि र नयाँ अभ्यास सिकिरहेकाले अभिभावकलाई पनि सिकाउँछौँ।” करेसाबारी कार्यक्रम सञ्चालन हुँदा विद्यार्थीलाई कृषिसम्बन्धी जानकारी पाउन सहज भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु बमले बताए। “विद्यालयमा करेसाबारी कार्यक्रमप्रति विद्यार्थी उत्साहित भएकाले अहिले विद्यालयमा पाँच कठ्ठामा तरकारी खेती गरिएको हो”, उनले भने, “विद्यालयको अतिरिक्त क्रियाकलापअन्तर्गत काम गराउँदा विद्यार्थीमा सिकाइ भइरहेको छ । यसले विद्यार्थीलाई विद्यालय र कृषि पेसाप्रति हौस्याएको छ।” तीस हप्तासम्म करेसाबारी कार्यक्रम सञ्चालन हुनेछ। यसका लागि हप्तामा एक दिन कृषिसम्बन्धी पढाइ गर्दै व्यवहारिकरूपमा करेसाबारीमै काम सिकाइन्छ। कार्यक्रमअन्तर्गत विद्यालयमा लौका, करेला, तोरिया, बोडी र भिन्डी खेती गरिएको जानकी गाउँपालिकाका कृषि प्राविधिक तेजराम चौधरीले बताए। “एक विद्यालयमा न्यूनतम दुईदेखि पाँच कठ्ठामा अहिले खेती सञ्चालन गरिएको छ”, उनी भन्छन्, “यसरी विद्यालयमा विद्यालय करेसाबारीले विद्यार्थीमात्र नभई उनीहरूको घरमा कृषि कर्ममा परिवर्तन भई घरको आर्थिक अवस्थामा सुधार ल्याउनमा मद्दत पुग्नेछ।” पालिकाले कृषिमा विद्यार्थीको आकर्षण बढाउनका लागि थालेको यो कार्यक्रम प्रभावकारी रहेको स्थानीय बताउँछन्। स्थानीय रविन चौधरीले पालिकाले विद्यालयमा कृषि कर्म सिकाउन थाल्नु नयाँ अभ्यास भएको बताए। – रासस
सुर्तीजन्य सामग्रीको मूल्य अंकित पोष्टर किराना पसलमा टाँसे कारबाहीमा परिने काठमाडौँ। सुर्तीजन्य सामग्रीको मुल्य उल्लेख गरिएको पोष्टर किराना पसल वा होलसेल पसलमा राखेमा कारबाही हुने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सुचना सार्वजनिक गरी यसरी मुल्य अंकित पोष्टर टाँसिएको पाईएमा सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन ऐन २०६८ को दफा १७६ र जनस्वास्थ्य ऐन २०७५ को दफा ५३ बमोजिम सजाय र जरिवाना गर्ने जनाएको छ। ‘नेपालमा सुर्तिजन्य कम्पनीहरुले खुद्रा किराना पसल, होलसेल किराना पसललगायत अन्य पसलहरुको बिक्रीस्थलमा आफनो कम्पनीको नाम र दर रेटसहित मुल्यु सुची राखेर बिज्ञापन गरेको पाइएको र उक्त कार्य सुर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन २०६८ को दफा १०, सुर्तिजन्य पदार्थ नियन्त्ररण र नियमन निर्देशिका २०७१ को दफा ४० र दफा ४१ तथा जनस्वास्थ्य ऐन २०७५ को  दफा ४५ बिपरित भएकाले त्यस्ता बिज्ञापन हुने गरी टाँस गरिएका चुरोट बिडी, गुटखा आदिका मुल्य सुची उल्लेखित पोष्टर वा वालचार्ट टाँस नगर्न र टाँस गरेको भएमा तुरुन्त हटाउन निर्देशन गरिन्छ’ मन्त्रालयले आज जारी गरेको सुचनामा भनेको छ । सो सुचना अनुसार ‘यदी टाँस गरेको पाईएमा सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन ऐन २०६८ को दफा १७६ र जनस्वास्थ्य ऐन २०७५ को दफा ५३ बमोजिम सजाय र जरिवाना हुने ब्योहोरा समेत यसै सुचनाद्धारा सबैमा जानकारी गराइन्छ।’
सेनाद्वारा अन्नपूर्णबाट तीन हजार किलो फोहर संकलन म्याग्दी। म्याग्दीस्थित अन्नपूर्ण प्रथम हिमालबाट तीन हजार छ सय किलोग्राम फोहर संकलन गरिएको छ। नेपाली सेनाको हिमाल सरसफाइ अभियानमार्फत अन्नपूर्ण हिमाल र आधार शिविरबाट फोहर संकलन गरिएको हो। आठ हजार ७१ मिटर अग्लो अन्नपूर्ण हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा पर्छ। विसं २०७९ चैत १७ गते गएको सेनाको हिमाल सरसफाइ टोली मंगलबार आधार शिविरबाट फर्किएको अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिए। सेनाका १० र पिक प्रमोशन ट्राभल एजेन्सीका १३ जनाले ४८ दिनसम्म हिमाल र आधार शिविर क्षेत्रमा फोहर संकलन गरेका थिए। सफाइ अभियानको नेतृत्व नेपाली सेनाका सेनानी गजेन्द्र देउवाले गरेका थिए। क्याप्टेन भीमबहादुर भुजेलसहितको टोली आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको चुचुरोसम्मै पुगेर फोहर संकलन गरेका थिए। एक हजार दुई सय किलोग्राम कुहिने र दुई हजार चार सय नकुहिने फोहर संकलन भएको टोलीले जनाएको छ। कुहिने फोहर आधार शिविरदेखि तीन घन्टाको पैदलयात्रा बेँसीतर्फ झरेपछि पुगिने भुसकेतमा नारच्याङको अन्नपूर्ण युवा क्लबका प्रतिनिधिको रोहबरमा खाडल खनेर व्यवस्थापन गरिएको छ। नकुहिने फोहर प्रभु एयरको हेलिकोप्टरबाट म्याग्दीको दानामा ल्याइएको थियो। आधार शिविरबाट हेलिकोप्टरमा ल्याइएको फोहर ट्रकमा राखेर दानाबाट काठमाडौँस्थित नेपाली सेनाको मुख्यालयमा पठाइएको दानाका इन्द्रसिंह शेरचनले बताए। प्लास्टिक, टिन, फलाम र सिसाजन्य दुई हजार चार सय किलोग्राम फोहर काठमाडौँ लगिएको हो। आरोहण भएको ७२ वर्षपछि अन्नपूर्ण हिमाल र आधार शिविर क्षेत्रमा सरसफाइ भएको गाउँ संरक्षण क्षेत्र व्यवस्थापन समिति नारच्याङका अध्यक्ष तेज गुरुङले बताए। “आरोहण र पदयात्राका लागि गएकाहरूले फालेका सामानले फोहर बढ्दै गएको थियो”, उनले भने, “सेनाको टोलीले पहिलोपटक अन्नपूर्ण हिमाल सरसफाइ गरेको हो।” हिमाल सरसफाइका लागि पोखरा महानगरपालिकाले सेनालाई रु १५ लाख बजेट सहयोग गरेको छ। सेनाले अन्नपूर्ण, सगरमाथा, ल्होत्से र बरुञ्चे हिमालमा ‘सफा हिमाल अभियान २०२३’ सञ्चालन गरेको छ। गण्डकी प्रदेशमा रहेको आठ हजार मिटर अग्लो धवलागिरि र मनास्लु हिमालमा यसअगाडि नै सरसफाइ गरिएको थियो। हिमालमा हुने फोहरले वातावरणको सन्तुलन पनि गुमाएको र गलत सन्देश पनि गएकाले सेनाले सफाइ अभियान चलाएको हो। सन् २०१९ देखि हिमाल सरसफाइ अभियान सञ्चालन गरेको नेपाली सेनाले अघिल्लो वर्ष सगरमाथा, ल्होत्से, मनास्लु र कञ्चनजंघा हिमालबाट कुहिने सात हजार एक सय ५७ किलो फोहर संकलन गरेको थियो। रासस
थाहा पाउनुहाेस् आजको मौसम काठमाडौं। हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली देखि सामान्यतया सफा रहने छ। गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानहरुमा सामान्य हावा हुरीको सम्भावना रहेको छ। राति भने देशको पहाडी भू-भागका आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।
नागार्जुनको एक रेष्टुरेष्टमा आगलागी काठमाडौं। नागार्जुनको एक रेष्टुराँमा आज राति आगलागी भएको छ । राति १०ः०० बजे आगलागी शुरु भएको प्रहरीले जनाएको छ । प्रहरी र स्थानीयले आगो निभाउने प्रयास गरिरहेको प्रहरी वृत्त स्वयम्भुले जनाएको छ । नागार्जुन नगरपालीका–४ स्थित सरलपुरको मिन्ट लिफ रेष्टुराँमा आगलागी भएको घटनास्थलमा खटिएका प्रहरी निरीक्षक देवीदत्त मोतेले जानकारी दिए। उनका अनुसार दुई वटा दमकलको सहायताले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ । प्रहरीका अनुसार राति ११ः०० बजेसम्म आगो पूर्णनियन्त्रणमा आइसकेको छैन भने आगलागीबाट थप क्षति हुने अवस्था छैन ।
पाल्पामा आगलागीबाट चार घर जलेर नष्ट, दुई जना घाइते रामपुर (पाल्पा)। पाल्पाको रामपुर नगरपालिका–९ स्थित मधुकोटमा आगलागी हुँदा चार घर जलेर नष्ट भएको छ । आज दिउँसो करिब ३ बजेको समयमा गाउँदेखि तल रहेको जङ्गलमा लागेको आगो सल्केर घरमा क्षति गरेको छ । मधुकोटका दलबहादुर साठीघरे, ऐतराम साठीघरे, लोकबहादुर साठीघरेको घर पूर्णरुपमा जलेर नष्ट भएको छ भने भिमिसरा साठीघरेको घर आंशिकरूपमा जलेको छ । आगलागीबाट मानवीय क्षति भने भएको छैन । सात बाख्रा, एक बङ्गुर मरेको स्थानीयवासीले बताएका छन् । घर जलेर विस्थापित परिवारलाई अहिले गाउँमै रहेको सिद्ध प्राथमिक विद्यालयमा राखिएको वडाध्यक्ष डिलबहादुर रानाले जानकारी दिए। स्थानीय, प्रहरी र नेपाली सेनाको टोली आगो नियन्त्रण गर्न जुटेका छन् । चारैतिर जङ्गल र बीचमा बस्ती भएकाले आगो अन्यत्र पनि फैलने जोखिम छ । आगो नियन्त्रणमा ल्याउने कोसिस भइरहेको छ । रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले स्थलगतरूपमा घटनाको अनुगमन गर्दै पीडित परिवारलाई नगरपालिका कार्यालयबाट आवश्यक सहयोग गर्ने बताए । जङ्गलमा आगो कसले लगायो भन्नेबारे अनुसन्धान भइरहेको छ । आगलागीबाट ७६ वर्षीय दलबहादुर साठीघरे र उनकी बुहारी लक्ष्मी साठीघरे घाइते भएकी छन् । घाइतेलाई रामपुर नगरपालिकाले रामपुर अस्पतालसम्म ल्याएर उपचार गराइरहेको छ । आगलागीबाट के कति क्षति भयो त्यसको विवरण सङ्कलन भइरहेकाले आउन बाँकी छ ।
रुपन्देहीमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु बुटवल । रुपन्देहीको रोहिणी गाउँपालिकामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । रोहिणी–३ झुमा परासीस्थित सडकमा ना ८ ख २०९७ नम्बरको ट्रकले लु ७५ प ७६७६ नम्बरको मोटरसाइकललाई सोमबार राति ठक्कर दिएको थियो । ठक्करबाट घाइते भएका मोटरसाइकल चालक ओमसतिया गाउँपालिका ५ तरैनी बस्ने २३ वर्षीय निराजन चौधरीको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मंगलबार दिउँसो मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको रुपन्देही प्रहरीले जनाएको छ ।
अर्घाखाँचीमा एउटा घरमा लागेको आगो निभाउने क्रममा जलेर पाँच जना गम्भीर घाइते सन्धिखर्क । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा लागेको आगो निभाउने क्रममा जलेर पाँच जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा भूमिकास्थान–२ तिरतिरे खोलाका ५५ वर्षीय पदम वेल्वासे, ३६ वर्षीय माधव वेल्वासे, ५२ वर्षीय घनश्याम वेल्वासे, ७२ वर्षीय पिताम्बर वेल्वासे र २६ वर्षीया अस्मिता वेल्वासे रहेका छन् । भूमिकास्थान नगरपालिका–२ तिरतिरे खोलामा लागेको आगो स्थानीय पदम वेल्वासेको घरमा सल्किएपछि आगो निभाउने क्रममा स्थानीय पाँच जना गम्भीर घाइते भएका छन् । घाइतेलाई जिल्ला अस्पताल सन्धिखर्कमा उपचारपछि थप उपचारका लागि मिसन अस्पताल पाल्पा रिफर गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख मुकुन्द रिजालका अनुसार आगोले पदम वेल्वासेको घर जलेर नष्ट भएको छ ।
नक्कली शरणार्थी प्रकरणमा संलग्न थप दुईजना पक्राउ काठमाडौं। प्रहरीले नक्कली भूटानी शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर ठगी गरेको आरोप लागेकामध्ये थप दुई विचौलियालाई आज काठमाडौँबाट पक्राउ गरेको छ ।
कानून दिवस मनाइयो काठमाडौं। नेपालमा कानून दिवस विविध कार्यक्रम आयोजना गरी मनाइएको छ। प्रधानन्यायालय स्थापना भएको दिनलाई नेपालमा कानून दिवसका रुपमा मनाउने गरिन्छ। नेपालमा प्रधान न्यायालय ऐन, २००८ बने पनि त्यसको लागू भने विसं २००९ वैशाख २६ गतेबाट लागू भएको थियो। सोही दिनको सम्झनामा प्रत्येक वर्ष वैशाख २६ गतेको दिनलाई कानून दिवसका रूपमा मनाउने गरिएको छ। कानून दिवसका अवसरमा सर्वोच्च अदालतले मंगलबार काठमाडौंमा चियापान समारोहको आयोजना गरेको थियो। समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, कानुनमन्त्रीलगायत, सरकारी उच्च अधिकारीहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा उपस्थीतहरुलाई स्वागत गर्दै सर्वोच्च अदालतका मुख्य रजिष्टार लालबहादुर कुँवरले स्वतन्त्र न्यायपालिका, विधिको शासन, संवैधानिक सर्वोचता एवं लोकतान्त्रिक मूल्यमान्यता प्रति प्रतिवद्धत रहदै सहज पहुचयुक्त तथा जनआस्थामा आधारित न्यायपद्दतीको स्थापना गर्न कानून दिवसले मद्धत पुग्ने विश्वास व्यक्त गरे। स्वच्छ निश्पक्ष, छिटोछरितो एवं गुणस्तरिय न्यायसम्पादन र प्रभावकारी सेवा प्रवाहमार्फत सुदृढ एव भरोषायोग्य न्यायप्रणाली स्थापना र विकासका लागि आफ्नो ठाउबाट योगदान गर्न कानून दिवसले थप उर्जा प्रदान गर्ने उनले बताए। न्यायपालिकाको स्वतन्त्रता, विधिको शासन तथा आधुनिक न्याय प्रणालीको स्थापनाका लागि उक्त ऐनले खडा गरेको जगलाई थप मजबुत बनाउन विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ।
सातदोबाटोस्थित टोपबहादुर रायमाझीको घरमा प्रहरीको छापा काठमाडौं । नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहसँग मिलेमतो रहेको आरोप लागेपछि प्रहरीको खोजी सूचीमा रहेका नेकपा (एमाले) का सचिव एवं पूर्वउपप्रधानमन्त्री तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीको घरमा आज प्रहरीले खानतलासी लिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँबाट गएको प्रहरी टोलीले ललितपुर महानगरपालिका–१५ सातदोबाटो नजिक रहेको रायमाझीको घरमा खानतलासी लिएको हो । जिल्ला प्रहरी परिसर ललितपुरको सहयोगमा काठमाडौँबाट गएको टोलीले उहाँको घरमा खानतलासी लिएको ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिए । नक्कली भूटानी शरणार्थी बनाई अमेरिका पठाउने प्रकरणमा जोडिएपछि रायमाझीलाई एक साताअघि नै प्रहरीले पक्राउ पुर्जीको अनुमति लिएर खोजी गरिरहेको छ । त्यसपछि रायमाझी सम्पर्कमा नभएकाले खोजी जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । उक्त प्रकरणमा रायमाझीका छोरा सन्दीपलाई भने प्रहरीले तत्कालै पक्राउ गरिसकेको छ । उक्त घटनामा प्रहरीले तत्कालीन गृहसचिव टेकनारायण पाण्डेलाई पनि पक्राउ गरिसकेको छ । यस्तै प्रहरीले तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार डा इन्द्रजित राईलगायत आठ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । प्रहरीमा शरणार्थी बनाएर अमेरिका पठाउने लोभ देखाएर एक सय छ जनाले कूल रु २३ करोड २५ लाख ठगी भएको भन्दै २० वटा जाहेरी दिएका छन् । प्रहरीका अनुसार गिरोहले २०७६ देखिनै गृहका अधिकारीसँगको मिलेमतोमा काम गरेको पाइएको छ । कतिपयलाई भने नक्कली शरणार्थी बनाइसकेको फेला परेको छ । यसरी शरणार्थी बनाएबापत उनीहरूबाट प्रतिव्यक्ति लाखौँ रकम उठाएका थिए ।
जुवातास खेलिरहेको अवस्थामा ४ जना पक्राउ डडेलधुरा। अमरगढी नगरपालिका-७ बाट जुवातास खेलिरहेको अवस्थामा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। नगरपालिका-७ जोशीगाउँ बस्ने तिर्थ राज जोशीको कुखुरा पाल्ने खाली टहराभित्र जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३८ वर्षीय तेज कैनी समेत ४ जनालाई प्रहरीले पक्राउ गरेको हो। विशेष सूचनाको आधारमा प्रहरी चौकी पोखरा र जिल्ला प्रहरी कार्यालय डडेलधुराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३९ हजार ३ सय ९५ रूपैयाँ र २ बुक ताससहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
मकैको खोस्टाबाट टोपी र झोला उत्पादन, विदेशमा निर्यात तनहुँ। व्यास नगरपालिका–५ की प्रतिमा श्रेष्ठ मकैको खोस्टाबाट टोपी र झोला बनाउन व्यस्त छिन्। उनी भन्छिन् “कच्चा पदार्थ विदेशबाट ल्याएर सिकेको सीपले बजार आफैँ खोज्नुपर्ने हुन्छ, गाउँघरमा फालिएका खेर जाने कच्चा पदार्थ प्रयोगबाट सिकेको सीपले आम्दानी हुने हुँदा प्रेरित र प्रोत्साहन मिलेको छ ।” विभिन्न सीप सिक्दा कच्चा पदार्थ विदेशबाट आयात गर्नुपर्ने र बजार पाउन पनि मुस्किल हुने उनको भनाइ छ । “गाउँघरमा प्रशस्त पाइने मकैको खोस्टा खेर गइरहेको वस्तु हो, गाईवस्तु भए दिने नत्र त्यसै पोलेर खेर जाने वस्तुको उपयोग गरेका छौँ”, उनी भन्छिन्, “विभिन्न तालिम तथा सीप सिके पनि बजारको व्यवस्थापन गर्न सकस हुन्छ तर गाउँघरमा खेर गएको वस्तु उपयोग हुने र सिक्दै गर्दादेखि नै यसबाट आयआर्जनमा जोडिएका छौँ ।” गाउँघरमा उत्पादित कच्चा पदार्थ खेर गइरहेको हुन्छ, कच्चा पदार्थ उपयोग गरी टोपी र झोला विदेश निर्यात गर्दा मुलुकको बिग्रिएको अर्थतन्त्रलाई सहयोग पुग्ने श्रेष्ठको भनाइ छ । “हरेक वस्तु बनाउँदा कच्चा पदार्थ विदेशबाट आयात गर्नुपर्छ, स्थानीयस्तरमा खेर जाने मकैको खोस्टाबाट आम्दानी हुने र विदेशबाट माग हुँदा प्रोत्साहन मिलेको छ”, उनले भनिन्। यो सीपले गाउँघरको उत्पादन भएका कच्चा पदार्थ उपभोगबाट टोपी र झोला बनाउन सकिने भएपछि बनाउने र कच्चा पदार्थसमेत बिक्री हुने उनले बताइन्। सिक्ने क्रममा गाउँघर भएकाले सबैले खोस्टा दिएर सहयोग गरेको उनले बताइन्। “सीप सिकिसकेपछि भने तालिम सिकाउने प्राविधिक सहयोग रहेको ओम राजश्री मल्टी एग्रो प्रालि काठमाडौँले मकैको खोस्टा खरिदका लागि व्यवस्थापन गर्ने जनाएको छ”, श्रेष्ठले भनिन्। प्लाष्टिकजन्य पदार्थको बढी उपयोगले वातावरणमा प्रदूषण भइरहेको अवस्थामा मकैको खोस्टाबाट बनेका वस्तु प्रयोगले वातावरणमैत्री बनाउने अपेक्षा रहेको उनले बताइन्। “प्लाष्टिकजन्य पदार्थको उपयोग वातावरणमैत्री छ, प्लाष्टिकजन्य पदार्थ जलाउँदा क्यान्सरजस्ता जघन्य रोगबाट ग्रसित हुनुपर्ने अवस्था छ, प्लाष्टिकका वस्तुको उपयोग न्यूनीकरणका लागि मकैको खोस्टाबाट बनेको टोपी, झोला प्रभावकारी रहेको छ”, उनले भनिन्। तालिम लिए पनि बजारको अभावले सिकेको सीप खेर जाने हुन्थ्यो, यस तालिम प्रदान गर्ने संस्थाले नै बजारीकरणको लागि व्यवस्थापन गरेको उनले बताइन्। त्यस्तै तारा सिलवालले सिक्दै गरेको अवस्थामा घरकै सामग्रीले आयआर्जन गर्न प्रोत्साहन मिलेको बताइन्। फालिएका वस्तुबाट पनि आयआर्जन गर्न सकिन्छ भन्ने थाहा पाएअनुसार मकैको खोस्टाबाट टोपी र झोला बनाउन सिकेको र आयआर्जन भइरहेको उनले बताइन्। फालिएको वस्तुबाट झोला र टोपी बनाएर सन्तुष्ट तुल्याएको उनको भनाइ थियो । तालिम आयोजक र तालिम प्रदान गर्न सहयोग गर्ने संस्थाको समन्वयमा कम्पनी स्थापना गरी उत्पादनलाई निरन्तरता दिने उनले बताए।  “आफैँले बोेकेर हिँड्दा सबैले विदेशबाट आएको झोला हो भनेर प्रशंसा गरेको र यसको प्रवद्र्धनमा सहयोग पुगेको छ, हामीलाई पनि माग गरिदिनु भन्ने गर्छन्”, उनले भनिन्, “आफैँले बनाएको भनेपछि माग आउन थालेको छ ।” घरमा बसिरहेको अवस्थामा खेर गएको समय र गफ गर्दासमेत कच्चा पदार्थ घरमै पाइने भएकाले खाली समयमा टोपी र झोला बुन्न सकिने कमला श्रेष्ठ अधिकारीले बताइन्। मकैको खोस्टाबाट टोपी र झोला बुनेको देखेपछि घर वरपरका महिला आकर्षित भएको उनको भनाइ थियो । व्यास नगरपालिका–५ वडा कार्यालयको आयोजना र ओम राजश्री मल्टी एग्रो प्रालि काठमाडौँले मकैको खोस्टाबाट टोपी र झोला बुन्न तालिम दिएपछि महिला प्रेरित भएका छन् । गण्डकी प्रदेशमा नै पहिलोपटक मकैको खोस्टाबाट टोपी र झोला बनाउने तालिम ल्याइएको वडाध्यक्ष विष्णुकुमार श्रेष्ठ (हिमाल)ले बताए। विदेशी मुद्रा सञ्चितिमा सहयोग पुयाउने गरी तालिम दिनुपर्छ भन्ने उद्देश्यले विदेशमा नै निर्यात गर्ने गरी उत्पादनमा जोड्न लागिपरेको उनले बताए। “पूर्णरूपमा स्वदेशको लागि मात्र नभई विदेश निर्यात गर्नकै लागि उत्पादनसँग जोड्नुपर्छ, डलर सञ्चितिकै लागि यो कदम चालेका हौँ”, वडाध्यक्ष श्रेष्ठले भने, “जापान, ट्युनिसिया र दुबईमा माग आइरहेको छ, माग वृद्धि हुँदै गएपछि अझ थप देशमा पनि पठाउने व्यवस्थापन गर्नेछौँ ।” अहिलेका लागि देशमा डलर सञ्चितिमा टेवा पुर्‍याउने उद्देश्यले नै विदेशबाट आयात गर्नुभन्दा निर्यातमा जोड दिइएको उनको भनाइ थियो । “घरमा खेर फालिने मकैको खोस्टा कि त जलाइन्छ कि गाईवस्तुलाई खुवाएर खेर जान्छ, गाउँघरमा उत्पादित कच्चा पदार्थ उपयोग पनि हुन्छ, तालिमकै अवधिमा प्रशिक्षार्थीले गाउँघरबाट खोजेर ल्याउने गरेका छन्, उहाँहरूलाई जोखेर भुक्तानी दिने गरिएको छ”, उनले भने। सिक्दै गरेको अवस्थामा समेत प्रशिक्षार्थीलाई टोपीको रु एक हजार दुई सय, झोलाको रु नौ सय निर्धारण गरिएको उनले बताए। प्रशिक्षणकै अवधिमा पनि बनेका सामग्री विदेश निर्यात गर्न ओम राजश्री मल्टी एग्रोले समन्वय गरिरहेको उनले जानकारी दिए। वडाबाट उत्पादन वृद्धि गर्ने उद्देश्यले प्रशिक्षार्थी र उत्पादन गर्न मात्रै नभएर प्रशिक्षक उत्पादन गरी वडाका २० टोलका महिलालाई प्रशिक्षित गरी आयआर्जन गर्ने वातावरण बनाउने उनले बताए। प्रशिक्षार्थीले जाँगर लगाएर सिक्दा आफूलाई सिकाउन सहज भएको प्रशिक्षक सुशिला बराई मगरले बताइन्। “प्रशिक्षार्थीको जोश र प्रेरणाले सिकाउन सहज भएको छ”, उनले भनिन्। बीस दिनको सिकाइ प्रशिक्षक बन्नुभएकी प्रशिक्षक मगरले प्युठान, गुल्मी, पाल्पा र कञ्चनपुरसम्म पुगेर प्रशिक्षण दिँदै आएकी छन्। स्वदेशमा घरेलु कच्चा पदार्थबाट बनेका टोपी, झोलाको माग भए पनि देशमा डलर सञ्चितिका लागि टेवा पु¥याउने उद्देश्यले अन्तर्राष्ट्रिय बजारमा निर्यातलाई प्राथमिकता दिएको वडाध्यक्ष श्रेष्ठले बताए। पोखरा, काठमाडौँलगायतका पर्यटकीय क्षेत्रबाट स्थानीय कच्चा पदार्थबाट बनेका वस्तुको माग भए पनि पूर्णरूपमा उत्पादित वस्तु विदेश पठाउने गरिएको छ । खेर जाने वस्तुको मूल्य र व्यवसाय नै हुने भएको छ । प्रशिक्षार्थीले ल्याएका मकैको खोस्टा प्रति केजी रु एक सय ४५ मा खरिद गर्ने गरिएको छ । मकैको खोस्टाबाट पेपल, गमला, फूलदानी, ढकिया, टे«लगायतका सजावटका सामग्री बनाउन सकिने र यसको अहिले स्थानीय बजारभन्दा पनि बढी अन्तर्राष्ट्रिय बजारमा माग बढी छ ।
कक्षा १२ को परीक्षा सुरु काठमाडौं। कक्षा १२ को परीक्षा सुरु भएकाे छ। बिहान ८ बजेदेखि सुरु भएको परीक्षा मध्याह्न १२ बजेसम्म चल्ने छ। परीक्षामा देशभरबाट कूल चार लाख ६७ हजार ३८९ विद्यार्थीले परीक्षा दिन लागेकाेपरीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए। उनले देशभर शान्तिपूर्ण रुपमा परीक्षा सम्पन्न गर्न सबैमा आग्रह पनि गरे। कक्षा १२ को यस वर्षको वार्षिक परीक्षामा देशभरबाट कूल चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थीले परीक्षा दिन लागेका बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिए। परीक्षाका लागि देशभर एक हजार चार सय ५७ परीक्षा केन्द्र निर्धारण गरिएको छ। उनले परीक्षाका लागि केन्द्राध्यक्ष, सह-केन्द्राध्यक्ष, निरीक्षक र सहायक नियुक्त गरी परीक्षाका लागि परिचालन गरिएको जानकारी दिए। यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी हुने भएका छन्। उनीहरूले जति विषयमा कम नम्बर आएको थियो सोही विषयको मात्र ग्रेड वृद्धि परीक्षा दिनुपर्नेछ। तीन वा सोभन्दा बढी विषयमा ‘नन ग्रेडेड’ ल्याएका विद्यार्थीले यो वर्ष पूरै विषयको परीक्षा दिनुपर्ने भन्दै छ विषयकै परीक्षा फारम भरिए पनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले लेटर ग्रेडिङ निर्देशिका, २०७८ संशोधन गरेसँगै अब नन ग्रेडेड ल्याएका विषयको मात्रै परीक्षा दिए पुग्ने भएको छ। बोर्डले लागू गरेको लेटर ग्रेडिङ प्रणालीअनुसार दुईभन्दा बढी विषयमा नन ग्रेडेड ल्याएका विद्यार्थीले पूरै विषयको परीक्षा दिनुपर्ने भन्ने थियो। यसो गर्दा गत वर्ष भएको ग्रेड वृद्धि परीक्षामा विद्यार्थीको सहभागिता घटेर ड्रप आउट हुने सम्भावना भएपछि मन्त्रालयले निर्देशिका संशोधन गरेको थियो।
टुकुचा खोला र आसपासको जग्गाको लगत कट्टा गर्न पत्राचार काठमाडाैं। काठमाडौं महानगरपालिकाले टुकुचा खोला र खोलाको बहाव क्षेत्रभित्र व्यक्तिका नाममा रहेको जग्गाको लगत कट्टा गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई पत्राचार गरेको छ। महानगरप्रमुख बालेन्द्र साहको निर्णयअनुसार प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले सोमबार मन्त्रालयलाई पत्राचार गरेका हुन्। पत्रमा भनिएको छ, “हात्तीसार क्षेत्रमा टुकुचा खोला खोलाको बहाव क्षेत्रभित्रको जग्गा त्रुटिवश व्यक्तिविशेषको नाममा दर्ता कायम रहन गएको देखिएको हुँदा यथाशीघ्र व्यक्तिविशेषको नाममा दर्ता रहेको जग्गा लगत कट्टा गर्ने र सार्वजनिक प्रयोजनमा रहने गरी प्रबन्ध गर्ने सम्बन्धमा आवश्यक कारबाहीका लागि मालपोत ऐन, २०३४ को दफा २४ को प्रयोजनार्थ अनुरोध गरिन्छ।” मालपोत ऐन, २०३४ को दफा २ ले नदी, खोलानाला सोको क्षेत्राधिकारको जग्गालाई सरकारी/सार्वजनिक जग्गा मानेको छ। सोही ऐनको दफा २४ (२) ले सरकारी/सार्वजनिक जग्गा व्यक्ति विशेषको नाममा दर्ता हुन गएको रहेछ भने त्यस्तो दर्ता स्वतः बदर हुने र सम्बन्धित मालपोत कार्यालय वा नेपाल सरकारले तोकेको अधिकारीले सोको लगत कट्टा गर्नुपर्ने व्यवस्था छ। सरकार मन्त्रिपरिषद्को विसं २०६५ मङ्सिर १ गतेको निर्णयले कुनै खोला, खोल्छी र राजकुलो छोप्न बन्देज लगाएको छ। सो निर्णयले टुकुचा खोलाको बहाव क्षेत्र तथा सोको दायाँबायाँको चार-चार मिटरको जग्गामाथि कुनै पनि भौतिक संरचना निर्माण गर्न नपाइने स्पष्ट मापदण्ड तोकेको छ। मापदण्डविपरीत हात्तीसार क्षेत्रमा टुकुचा खोला पूर्णरूपमा छोपिएको अवस्था छ। टुकुचा खोला छोपिएको विषयमा सम्मानित उच्च अदालत पाटनबाट मिति २०७९ माघ १८ गते आवश्यक दिशानिर्देशसहितको आदेश भएको छ। सो आदेशले टुकुचा खोलालाई खुला कायम गर्ने विकल्पका सम्बन्धमा ध्यानाकर्षण गरेको छ। पत्रमा भनिएको छ ,‘स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को ९७ (१) ले समेत आफ्नो क्षेत्रभित्रको सरकारी, सामुदायिक तथा सार्वजनिक जग्गाको रेखदेख, मर्मतसम्भार तथा संरक्षणसम्बन्धी दायित्व यस कामपालाई तोकेको छ।’ आधार, कारण र अदालतको आदेशलाई मध्यनजर गर्दा, टुकुचा खोला तथा सोको क्षेत्राधिकारभित्रको जग्गा व्यक्तिविशेषको नाममा दर्ता कायम रहन नसक्ने प्रष्ट देखिएको कामपाको भनाइ छ। उच्च अदालतको आदेशपछि टुकुचा पुनःस्थापनाका लागि महानगरले अगाडि बढाएको कुनै पनि प्रयास खेर नगएको प्रमुख साहको भनाइ छ।रासस
कक्षा १२ को परीक्षा आजदेखि, चार लाख ६७ हजारले परीक्षा दिँदै काठमाडौं। कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदैछ। परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले तयारी पूरा भएकाले परीक्षामा सहभागी हुन सबै परीक्षार्थीलाई आह्वान गरेका छन्। उनले देशभर शान्तिपूर्ण रुपमा परीक्षा सम्पन्न गर्न सबैमा आग्रह पनि गरे। कक्षा १२ को यस वर्षको वार्षिक परीक्षामा देशभरबाट कूल चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थीले परीक्षा दिन लागेका बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिए। परीक्षाका लागि देशभर एक हजार चार सय ५७ परीक्षा केन्द्र निर्धारण गरिएको छ। उनले परीक्षाका लागि केन्द्राध्यक्ष, सह-केन्द्राध्यक्ष, निरीक्षक र सहायक नियुक्त गरी परीक्षाका लागि परिचालन गरिएको जानकारी दिए। यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी हुने भएका छन्। उनीहरूले जति विषयमा कम नम्बर आएको थियो सोही विषयको मात्र ग्रेड वृद्धि परीक्षा दिनुपर्नेछ। तीन वा सोभन्दा बढी विषयमा ‘नन ग्रेडेड’ ल्याएका विद्यार्थीले यो वर्ष पूरै विषयको परीक्षा दिनुपर्ने भन्दै छ विषयकै परीक्षा फारम भरिए पनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले लेटर ग्रेडिङ निर्देशिका, २०७८ संशोधन गरेसँगै अब नन ग्रेडेड ल्याएका विषयको मात्रै परीक्षा दिए पुग्ने भएको छ। बोर्डले लागू गरेको लेटर ग्रेडिङ प्रणालीअनुसार दुईभन्दा बढी विषयमा नन ग्रेडेड ल्याएका विद्यार्थीले पूरै विषयको परीक्षा दिनुपर्ने भन्ने थियो। यसो गर्दा गत वर्ष भएको ग्रेड वृद्धि परीक्षामा विद्यार्थीको सहभागिता घटेर ड्रप आउट हुने सम्भावना भएपछि मन्त्रालयले निर्देशिका संशोधन गरेको थियो।
थाहा पाउनुहाेस् आजको मौसम काठमाडौं। हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुुसार हाल लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। दिउँसो देशको पहाडी भू-भागका आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक दुई स्थानहरूमा मेघ गर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। देशका तराई भू-भागका केही स्थानहरूमा सामान्य हावाहुरीको सम्भावना रहेको छ। राति भने देशको पहाडी भू-भागका आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।
मोरङबाट १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ मोरङ । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–८ हाटखोला बस्ने २४ वर्षीय  प्रवेश बस्नेत रहेका छन् । उनलाई  सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो । बेलबारी नगरपालिका–७ स्थित मकै बारीमा ती किशोरीलाई पैसा दिन्छु भन्दै प्रलोभनमा पारी बस्नेतले जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
नक्कली शरणार्थी प्रकरणले रोकियो आइजीपीको अमेरिका भ्रमण काठमाडौं। मुलुकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान चलिरहेको बेला सरकारले नेपाल प्रहरीका महानीरिक्षक (आइजीपी)लाई अमेरिका भ्रमण रोकेको छ। अमेरिकामा हुने लिडरशिप एक्सचेन्ज कार्यक्रममा भाग लिन जान लागेका आइजीपी वसन्त कुँवरको भ्रमण रोकेको हो। सो कार्यक्रममा भाग लिन नेपाल प्रहरीका एआइजीको टोलीलाई पठाइएको छ। भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका लैजाने भन्दै भएको ठगी प्रकरणका प्रहरीले अनुसन्धान गरिरहेको र सो अनुसन्धान प्रभाबित हुनसक्ने भन्दै आइजीपीको भ्रमण अनुमति नदिएको हो। ‘आइतबार साँझ मात्रै आइजीपीको भ्रमणमा रोक लगाइएको हो प्रहरीले हतारमा अर्को निर्णय गर्नुपर्यो, एआइजी किरण बज्रचार्यको नेतृत्वमा अर्को टोली पठाइएको छ’, प्रहरी प्रधानकार्यालय स्रोतले भन्यो। आइजी कुँवरको भ्रमण रद्द भएपछि एआइजीको नेतृत्वमा पाँच सदस्यीय टोली अमेरिका प्रस्थान गएको छ। एआइजी बज्राचार्यको नेतृत्वमा टोली पठाइएको नेपाल प्रहरीले जनाएको छ। टोलीमा प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरी, प्रहरी नायब महानिरीक्षक रामदत्त जोशी, प्रहरी वरिष्ठ उपरीक्षक चन्द्र बहादुर धामी र प्रहरी उपरीक्षक सन्तोष खड्का रहेका छन्। वैशाख २७ देखि २९ गतेसम्म संयुक्त राज्य अमेरिकाको वासिङ्टन डिसी र न्यूयोर्कमा सञ्चालन हुने उक्त कार्यक्रममा भाविष्यमा हुने सुरक्षा चुनौती र आतंकवाद, डिजिटल अपराध, क्रिप्टोकरेन्सी कारोबार लगायतका वित्तीय अपराध अनुसन्धान तथा नियन्त्रण र यससम्बन्धी ज्ञान तथा अनुभव आदान प्रदान जनाइएको छ। ‘आइजीपीको भ्रमण अचानक रद्ध भयो, प्रधानमन्त्रीले नै उहाँलाई मुलुकबाहिर नजान निर्देशन दिनु भएको हो’, प्रहरी प्रधानकार्यालय स्रोतले भन्यो। नक्कली भूटानी शरणार्थी प्रकरणमा यतिबेला पूर्व उपप्रधानमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझी फरार छन भने पूर्व गृहमन्त्री बालकृष्ण खाँण पनि शंकाको घेरामा तानिएका छन्।
गोरखाबाट हत्या आरोपमा एक जना पक्राउ गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङका दोर्जे घ्याल्जेन लामाको हत्या आरोपमा स्थानीय ५९ वर्षका छिरिङ धुनडुप लामा पक्राउ परेका छन् । १७ वैशाखको बिहान आफ्नै घरको कोठामा घ्याल्जेन मृत अवस्थामा भेटिएका थिए । घाँटीमा धारिलो हतियार प्रहार भएको चोट देखिएकाले उनको हत्या भएको आशंका गरिएको थियो । इलाका प्रहरी कार्यालय आरुघाटबाट प्रहरी निरीक्षक रामजी देवकोटा कमाण्डको टोली घटनास्थल पुगेर अनुसन्धान गर्दा हत्या भएको खुल्न आएको एसपी अनुपम श्रेष्ठले बताए । पक्राउ परेका धुनडुप बिरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
कालीकोटमा बलात्कार आरोपीलाई पक्राउ गर्न गएको प्रहरीमाथि आक्रमण मान्म। कालीकोटमा बलात्कारको आरोप लागेका एक जनालाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि स्थानीयले आक्रमण गरेका छन्। बलात्कारको आरोप लागेका पलाँता गाउँपालिका–६ सैनका ३१ वर्षीय संकल्प बुढालाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि आज गाउँलेले आक्रमण गरेका हुन्। आक्रमणबाट इलाका प्रहरी कार्यालय पलाँताका प्रहरी सहायक निरीक्षक लक्ष्मी ढुङ्गेल रावत घाइते भएका छन्। सो घट्नामा परी स्थानीय धनमान विकसमेत घाइते भएका छन्। घाइते दुवैको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरी निरीक्षक शुवराज बमले जानकारी दिए। आरोपित बुढालाई सदरमुकाम ल्याउने क्रममा स्थानीयले प्रहरीमाथि आक्रमण गरेका हुन्। आक्रमणपछि आरोपित बुढा फरार भएका छन्। उनको खोजी भइरहेको प्रहरी निरीक्षक बमले बताए। बुढाले २०७९ असोज ३१ गते गाउँकै एक दलित महिलामाथि बलात्कार गरेको आरोप लागेको थियो। पीडित परिवारले गत कात्तिक ९ गते जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएको थियो। तर घटनापछि बुढा भने फरार थिए। घरमा आएको जानकारी पाएपछि रावतको नेतृत्वमा प्रहरी टोली पलाँता–६ सैन पुगेको थियो। घरमै सुतिरहेका बुढा पक्राउ परे पनि स्थानीयको आक्रमणपछि भने फरार भएको प्रहरीले जनाएको छ।
आर्थिक अपराधका घटनामा वृद्धि, दैनिक ३० देखि ३५ चेक बाउन्सको उजुरी काठमाडौँ। काठमाडौँमा दिनानुदिन आर्थिक अपराधका घटना वृद्धि हुँदै गएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले पछिल्लो समय काठमाडौँमा आर्थिक अपराधका घटनामा वृद्धि भएको बताएका छन्। समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत आज प्रहरीवृत्त दरबारमार्गले आयोजना गरेको ‘नागरिक सुनुवाइ कार्यक्रम’मा उनले पछिल्लो समय काठमाडौँभित्र आर्थिक अपराधसम्बन्धी ‘चेक बाउन्स’का घटनामा उजुरी बढेको बताएका हुन्। “काठमाडौँमा दैनिक ‘चेक बाउन्स’ सम्बन्धी ३० देखि ३५ उजुरी प्रहरीकामा आउने गरेको छ, मासिक झण्डै एक हजारभन्दा बढी उजुरी आउँछन्, आर्थिक अपराधका घटनाबाट सजग हुनुपर्छ”, उनले भने। डलर साटिदिन्छु, चिठ्ठा पारिदिन्छु, राम्रो रोजगारीमा विदेश पठाइदिन्छु भन्दै ठगी गर्नेको सङ्ख्यासमेत बढेको उनको भनाइ छ। काठमाडौँ प्रहरी प्रमुख कार्कीले रात्रिकालीन व्यवसायलाई सुरक्षित र व्यवस्थित बनाउन आचारसंहिता बनाएर लागू गर्नुपर्ने उल्लेख गरे। उनले काठमाडौँको ठमेल, चितवनको सौराहा र कास्कीको बैदाम क्षेत्रलाई २४सै घण्टा सञ्चालन गर्न विगतमा सरकारले योजना बनाएको भन्दै यस क्षेत्रलाई व्यवस्थितरुपमा सञ्चालन गर्नुपर्ने बताए। काठमाडौँ महानगरपालिका–२ का वडाअध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले समाजमा हुने अपराध न्यूनीकरण गर्दै शान्त वडा निर्माणका लागि महानगरपालिकाले काम गरिरहेको बताए। ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले ठमेल क्षेत्रलाई व्यवस्थितरुपमा सञ्चालन गर्न व्यावसायिक आचारसंहिता बनाएर लागू गर्नुपर्ने बताए। प्रहरीवृत्त दरबारमार्गका प्रमुख, प्रहरी नायब उपरीक्षक कोपिला चुँडालले ठमेल, दरबारमार्ग र लाजिम्पाट क्षेत्रलाई समृद्ध बनाउन यस क्षेत्रभित्र देखिएको विकृति अन्त्य गर्नुपर्ने बताए। कार्यक्रमका सहभागीले ठमेल, दरबारमार्ग र लाजिम्पाट क्षेत्रको व्यवसायलाई व्यवस्थित गर्नुेपर्नेमा जोड दिएका थिए। – रासस
काठमाडौँका अब्यबस्थित तार हटाउन सुरु (फोटोफिचर) काठमाडौँ। काठमाडौं महानगरपालिका भित्रका क्षेत्रका अब्यबस्थित तार काट्ने कार्य आजदेखि सुरु भएको छ। महानगरको सौन्दर्य बढाउन तथा आगजानीको घटनालाई नियन्त्रण गर्नका महानगरपालिकाले विभिन्न  स्थानमा  रहेका अव्यवस्थित तार ब्यबस्थित गर्न सुरु गरेको हो। गत आइतबार बसेको काठमाडौँ महानगर, नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवाप्रदायकका प्रतिनिधिबीचको बैठकले सोमबारदेखि तार व्यवस्थापन गर्ने निर्णय गरेअनुसार आजबाट सुरु गरिन लागिएको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिएका थिए। जसअनुसार पहिलो दिन न्युरोड र माइतीघरमा रहेको अप्टिकल केबल तार ब्यबस्थित गर्ने सहमति अनुसार आजबाट हटाउन लागिएको दूरसञ्चार प्राधिकरणले जानकारी दिएको छ।
मुगु हिउँ पहिरो अपडेट : हेलिकप्टबाट सुरक्षाकर्मी घटनास्थलतर्फ प्रस्थान मुगु। च्याखु लेकमा हिउँ पहिरोमा परी बेपत्ताको खोजीका लागि आज बिहान नेपाली सेनाको हेलिकप्टबाट सुरक्षाकर्मी घटनास्थलतर्फ प्रस्थान गरेका छन्। हेलिकप्टरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका विपद् उद्धारकर्मी र बेपत्ता भएकाका आफन्तसहित २० जना रहेका जिल्ला प्रहरी कार्यालयका निमित प्रहरी नायब उपरीक्षक सुदर्शन पन्थीले जानकारी दिए। यही वैशाख २२ गते नै इलाका प्रहरीचौकी मुगुबाट घटनास्थलतर्फ प्रहरी हिँडे पनि अझै घटनास्थलसम्म पुग्न नसकेको बताइएको छ। हिउँ, उच्च हिमाल पार गरेर जानुपर्ने तथा बन्दोबस्तीका सामानको अभावमा त्यहाँ पुग्न कठिनाइ भएको पनि निप्रनाउ पन्थीले बताए। स्थलमार्गबाट सुरक्षाकर्मी घटनास्थलसम्म पुग्न समय लाग्ने भएपछि गृहमन्त्रालयले हेलिकप्टरसहित उद्धारकर्मी पठाएको हो। मुगुम कार्मारोङ गाउँपालिकाले यार्सा पाइने पाटन क्षेत्रमा आगामी जेठ ४ गते संकलनलाई राजस्व काटेर प्रवेश गराउने सूचना गरिरहँदा जुम्ला जिल्ला पातारासी गाउँपालिका–२ तल्फी गाउँका १५ स्थानीय अवैध बाटो भएर पाटनतर्फ प्रस्थान गरेका जनाइएको छ। पाटनमा जाँदै गर्दा च्याखु लेकमा यही वैशाख २२ गते दिउँसो १ बजे माथिबाट हिउँ पहिरो आउँदा तारासिंह सार्की ९४००, पुन्न सार्की ९३५० र वीर बोहरा ९३५० बेपत्ता भएको जनाइएको छ। – रासस
किसानको बाली जोगाउन ‘बाँदर उद्यान’ बलेवा। जैमिनी नगरपालिका-८ को पुरानो गाउँ बन क्षेत्रमा ‘बाँदर बगैँचा’ तथा पर्यटकीय क्षेत्र बनाउन पहल सुरुआत गरिएको छ। धार्मिक र ऐतिहासिक स्थलको पर्यटनबाहेक यहाँ जैमिनी नगरपालिकाका बाँदरको संकलन गरेर फरक प्रकारको पर्यटन गन्तव्य बनाउन लागिएको हो। बाँदरको बगैँचा र प्राकृतिक वन्यजन्तु उद्यान बनाउनका लागि नगरपालिकाले सरोकारवालासँग छलफल थालेको हो। जैमिनी नगरपालिका र डिभिजन वन कार्यालय बागलुङको संयुक्त आयोजनामा पुरानो गाउँमा भएको सरोकारवालाको भेलाले बाँदरले दिएको दुःख हटाउन संरक्षण पार्क बनाउने योजना सञ्चालन गर्ने सहमति भएको छ। साथै भेलाले बाँदर पार्क बनाउन आवस्यक सहयोग गरिदिन गण्डकी प्रदेश सरकार र संघीय सरकारलाई लेखी पठाउने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले बताए। भेलामा नगर प्रमुख नरबहादुर पुन, उपप्रमुख हरिहर शर्मा, जिल्ला वन अधिकृत मुकुन्द अधिकारी, सबै वडा अध्यक्ष र कार्यपालिका सदस्य तथा स्थानीय सहभागी थिए। उनीहरुले जैमिनी नगरपालिकाभित्रको बसाइँसराइ रोक्न बाँदर आतंक रोक्नुपर्ने धारणा राखेका थिए। उनीहरुले बाँदर नियन्त्रण भएमा बसाइँसराइ पनि रोकिने आशा व्यक्त गरेका थिए। “हामीलाई बाँदरले धेरै दुःख दिएको छ, बालीनाली खाएकोे छ, नष्ट गरेको छ जसका कारण घरमा खाने केही बाँकी छैन”, स्थानीय दुर्गाबहादुर थापाले भने, “जैमिनी नगरभित्रका बाँदर ल्याएर संरक्षण गरियो भने खेतीपाती लगाएर खान पाइएला।” हरेक घरमा बाँदरको हेरालो राख्दा पनि बाली जोगाउन नसकिएको उनले बताए। वडा वडामा बाँदरको समस्या भएपछि कतिपयले घरै छाडेर बसाइ सरेका छन्। घरहरु रित्तिन थालेको र खेतीपाती लगाउने क्रम घटेपछि बस्तीमा छिरेर बाँदरले आतंक मच्चाउने गरेको किसानको गुनासो छ। यहाँ बनाउने योजना गरिएअनुसार बाँदरलाई संरक्षण गरेर राख्ने, जंगलमै खाने व्यवस्थापन गर्दा समुदायमा खेतीपाती जोगाउने समस्या नहुने सहभागीको भनाइ थियो। त्यसका लागि धेरै बजेट लाग्ने अनुमान छ। नगरपालिकाले डिभिजनसँगको सहकार्यमा डिपिआर बनाउने, लगानीका बाटा खोज्ने र दीर्घकालीनरुपमा बाँदर नियन्त्रण गर्ने लक्ष्य राखिएको जनप्रतिनिधिले बताए। “बाँदर नियन्त्रण गर्न सकियो भने कम्तीमा बसाइँसराइ रोक्न सकिन्छ”, उपप्रमुख हरिहर शर्माले भने, “दिनदिनै बसाइ जाने अवस्था भएमा गाउँमा बिकास निर्माण पुग्दा बस्ती रित्तो हुनेछन्”, खेतबारी बाँझो भएको र आयातको भरमा बाँच्नुपर्दा नगरपालिका दिनदिनै गरिब बनेको उनको गुनासो थियो। नगर प्रमुख नरबहादुर पुनले त बाँदरको संरक्षण गरेर पर्यटनमा जोड्नुपर्ने धारणा राखे। उनले बाँदरबारे अध्ययन गर्न चाहने विद्यार्थीका लागि अध्ययन केन्द्रको रुपमा पनि विकास गर्न सुझाए। त्यसका लागि सबै स्थानमा पहल गर्नुपर्ने उनको जोड थियो। राम्रो संरक्षण भएमा छिमेकी पालिकाबाट समेत बाँदर ल्याएर राख्ने र पालिकाले राजस्व संकलन गर्ने, आम्दानीको दायरा बढाउने अवस्था आउने उनले बताए। कालीगण्डकी करिडोरको छिस्ती सडकदेखि ११ किमी यात्रा गरेपछि पुरानो गाउँ पुगिन्छ। करिडोर कालोपत्रे भएपछि यहाँ पुग्ने सडकस्तरीय बनाउँदा पर्यटन प्रवद्र्धनमा पनि योगदान पुग्ने स्थानीयको मत छ। पालिकाले लगानी गरेर स्तरीय सडक बनाउने र संरक्षणको अभियानबारे प्रचार गर्दा तराई झरेका स्थानीय र उनीहरुको संगतबाट गर्मी छल्न आउने पर्यटक प्रसस्त हुने अनुमान छ। यहाँ हरेक वर्ष जेठमा मेलासमेत लाग्छ। भलिबललगायतको खेलमा धेरै टिमले भाग लिन्छन्। यहा धार्मिक रुपमा मठमन्दिर पनि छन्। हाँडीकोटबाट पनि यो स्थान देखिन्छ। त्यसैले पर्यटन प्रवद्र्धनका क्रियाकलाप सञ्चालन गर्दा पुरानो गाउँको महत्व बढाएर नगरको आम्दानीको स्रोतसमेत बनाउन सकिने बताइएको छ। नगरपालिकाले आगामी वर्ष बजेट र कार्यक्रममार्फत पुनारो गाउँको सम्बोधन गर्ने जनप्रतिनिधिले बताउनुभयो । पुरानो गाउँ राष्ट्रिय वन क्षेत्र हो । यहाँ स्थानीयले उपभोग गर्दै आएका चार सामुदायिक वनसमेत जोडिएका छन्। रासस
थाहा पाउनुहाेस् आजको मौसम काठमाडौं। हाल देशमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मौसम सामान्यतया सफा रहेको छ। दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र अन्य प्रदेशका पहाडी भू-भागका एक दुई स्थानहरूमा मेघ गर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। राति भने कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।
null
null
१८ जना एसपी एसएसपीमा बढुवा काठमाडौं। गृह मन्त्रालयको बढुवा समितिले सिफारिस गरेका १८ जना प्रहरी उपरीक्षक (एसपी)लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा गरिएको छ । एसपीबाट एसएसपीमा बढुवा हुनेमा विश्व अधिकारी, भुपेन्द्रबहादुर खत्री, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल, अभिनारायण काफ्ले, सोमेन्द्रसिंह राठोर, मुकुन्द मरासिनी, दीपशमशेर जबरा छन् । यस्तै बढुवा हुने अन्य एसपीमा बेलबहादुर पाण्डे, दिनेशराज मैनाली, गोपालचन्द्र भट्टराई, प्रवीण पोखरेल, गंगा पन्त, कृष्णबहादुर पल्ली मगर, विश्वमणि पोखरेल, तारादेवी थापा र प्रज्वल महर्जन छन् ।
‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान-२०७९’ दीप श्रेष्ठ र शक्ति वल्लभलाई काठमाडौं। सिटी एक्सप्रेस मनि ट्रान्सफर र भक्तराज आचार्य संगीत प्रतिष्ठानको संयुक्त आयोजनामा हरेक वर्ष प्रदान गरिँदै आएको ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान–२०७९’ प्रदान गरिएको छ। यो वर्ष गायनतर्फ गायक दीप श्रेष्ठ र संगीततर्फ संगीतकार शक्ति वल्लभलाई ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान–२०७९’ प्रदान गरिएको हो। यसको पुरस्कार राशी जनही ५० हजार रुपैयाँ रहेको छ । सिटी एक्सप्रेस मनी ट्रान्सफर र भक्तराज आचार्य संगीत प्रतिष्ठानको संयुक्त सहकार्यमा यही २०८० बैशाख २३ गते “भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०७९” प्रदान गरियो । सो सम्मान गायनतर्फ बरिष्ठ गायक तथा संगीतकार दीप श्रेष्ठ र संगीततर्फ बरिष्ठ संगीतकार शक्ति बल्लभलाई जनही नगद पुरस्कार रु ५०,००१ सहित प्रदान गरिएको छ । कार्यक्रममा ‘सुशीला आचार्य सु–स्वास्थ्य कामना सम्मान’ युवा तबलाबादक बिपी सिंहलाई प्रदान गरिएको छ। २५ हजार रुपैयाँ राशिको यो सम्मान सांगीतिक क्षेत्रमा कृयाशिल स्वास्थ्योपचार गराइरहेका संगीतकर्र्मीलाई अघिल्लो वर्षदेखि प्रदान गर्न थालिएको हो। भक्तराज आचार्य संगीत प्रतिष्ठानका संरक्षक गायक तथा संगीतकार भजन शिरोमणि भक्तराज आचार्य, प्रतिष्ठानकी अध्यक्ष श्रीमती सुशिला आचार्य र सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डनले संयुक्त रुपमा यो सम्मान प्रदान गरेका थिए। भक्तराज आचार्य संगीत प्रतिष्ठानले विगत केहि बर्ष यता देखि संगीत र कलाको क्षेत्रमा महत्तवपुर्ण योगदान पुर्‍याउँदै आएको र सिटी एक्सप्रेसले सामाजिक उत्तरदायित्व अन्तर्गत भक्तराज आचार्य संगीत प्रतिष्ठानलाई साथ दिँदै आएको छ। सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १६ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ। आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १५ हजार भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ।
भूपेन्द्र बडुवाल हत्या प्रकरणः मुख्य अभियुक्तले ६ महिनापछि गरे आत्मसमर्पण धनगढी। कैलालीको लम्कीचुहा नगरपालिका–१ का भूपेन्द्र बडुवाल हत्या प्रकरणका मुख्य अभियुक्त भनिएका नवीन रावलले आत्मसमर्पण गरेका छन्। गत वर्षको कात्तिक २३ गते टीकापुर नगरपालिका–१ मा बडुवालको धारिलो हतियार प्रहार गर्दै हत्या गरेर फरार भएका रावलले आइतबार जिल्ला अदालत कैलालीमा आत्मसमर्पण गरेका हुन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउदले रावलले आइतबार दिउँसो जिल्ला अदालतमा आत्मसर्मण गरेको बताए। रावललाई अदालतले यसअघिकै फैसलाका आधारमा पुर्पक्षका लागि कारागार चलान गरेको छ। रावल बडुवालको हत्या भएकै दिनदेखि फरार थिए। उक्त प्रकरणमा जिल्ला अदालत कैलालीले गत वर्षको २४ मंसिरमा ९ जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको थियो भने तीन जनालाई धरौटीमा छाड्न आदेश दिएको थियो। धरौटमा छाडिएका तीन जनालाई उच्च अदालतको आदेशपछि पुनः पक्राउ गरेर पुर्पक्षका लागि कारागार चलान गरेको थियो। रावलसहितका ८ जना फरारको सूचीमा थिए। रावलले अदालतमा आत्मसर्मपण गरेपनि अन्य ७ जना अझै फरार छन्।
यामाहा परिवार निर्माणको पहल गर्न यामाहाले ल्यायो ‘ब्लु स्ट्रिक्स’ काठमाडौं। यामाहा नेपालले यामाहा ब्लू स्क्वायर, नक्सालमा आफ्नो बहुप्रतिक्षित ‘ब्लु स्ट्रिक्स’ पहल सुरु गर्ने घोषणा गरेको छ । यामाहा मालिकहरूलाई एकै ठाउँमा ल्याउन र चालक तथा उनीहरूका मोटरसाइकलहरूबीच बलियो सम्बन्ध सिर्जना गर्न यो डिजाइन गरिएको हो । ‘ब्लु स्ट्रिक्स’ कार्यक्रममा सामेल भएर यामाहा मालिकहरूले यामाहा समुदायसँग संलग्न भई विभिन्न फाइदा र अवसरहरू प्राप्त गर्नेछन् । विशेष कार्यक्रमका अवसर र सवारीहरूदेखि लिएर भविष्यमा आउने विशेष प्रमोशन र छुटहरूसम्म प्रदान गरी ‘ब्लु स्ट्रिक्सु ले यामाहा मालिकहरूका लागि थप निकटता र रमाइलो अनुभव सिर्जना गर्ने लक्ष्य राखेको छ । ‘ब्लु स्ट्रिक्स’ आफ्ना ग्राहकहरूसँग गहिरो सम्बन्ध विकास गर्न र भविष्यमा ‘म्यान-मेसिन’ अन्तरक्रियालाई थप आकर्षक र रोमाञ्चक अनुभव बनाउने प्रतिबद्धताको एक हिस्सा भएको कम्पनीले बताएको छ। ‘ब्लु स्ट्रिक्सुको सुरुवात यामाहाका लागि महत्त्वपूर्ण कोसेढुङ्गा हो,’ माउ इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत राजु क्षेत्रीले भने, ‘हामी सम्पूर्ण यामाहा मालिकहरूलाई एकै ठाउँमा ल्याउन र उनीहरूसँग बलियो सम्बन्ध बनाउन पाउँदा हर्षित छौँ । हाम्रो लक्ष्य भनेको मोटरसाइकल र खुला सडकप्रति आफ्नो प्रेम बाँड्न सक्ने भावुक र जिम्मेवार यामाहा मालिकहरूको समुदाय सिर्जना गर्नु हो ।’ ‘ब्लु स्ट्रिक्स’ बारे थप जानकारीको लागि र कार्यक्रममा सामेल हुन यामाहाको वेबसाइटमा जानुहोस् https://www.maw2wheelers.com/blue-streaks
सचिव पाण्डेलाई थप सात दिन हिरासतमा राख्न अनुमति काठमाडौं। नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणको अनुसन्धानका क्रममा पक्राउ परेका नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलाई अदालतले थप सात दिन हिरासतमा आज राख्न प्रहरीलाई अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौँले सचिव पाण्डेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । भुटानी शरणार्थी नक्कली परिचयपत्र बनाएर ठगेको आरोपमा पाण्डेलाई प्रहरीले यही वैशाख २० गते पेप्सीकोलाबाट पक्राउ गरेको थियो । उनलाई प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सङ्खुवासभाको चैनपुरमा एकै घरका चार बालबालिका अचेत अवस्थामा फेला परे किमाथाङ्का। सङ्खुवासभाको चैनपुर नगरपालिका–९ खाम्लिङमा चार बालबालिका अचेत अवस्थामा फेला परेका छन् । आज बिहान चैनपुर–९ खाम्लिङका मन बहादुर तामाङका चार जना छोराछोरी अचेत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिए । मनबहादुरका छोरा नौ वर्षीय मनधोज, आठ वर्षीय राजेन्द्र, पाँच वर्षीय निमसाङ र छोरी तीन वर्षीया सुपरिना घरनजिकै अचेत अवस्थामा फेला परेको प्रहरी निरीक्षक बस्नेतले बताए । बिहान घरमै छाडेर मेलापात गएका मनबहादुर घर फर्किंदा छोराछोरी अचेत अवस्थामा फेला परेपछि प्रहरीलाई खबर गरेका थिए । उनीहरूको प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा उपचार हुन नसकेपछि थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ । अचेत अवस्थामा फेला परेको एक छोरा र एक छोरीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको । उनीहरूले जङ्गली खाने कुरा खाएर बिरामी परेको हुन सक्ने प्रहरीको अनुमान छ । रासस
कक्षा १२ को वार्षिक परीक्षाको तयारी अन्तिम चरणमा काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को वार्षिक परीक्षाको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । यही वैशाख २६ गतेदेखि सञ्चालन हुन लागेको उक्त परीक्षाका लागि कूल चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थीले फाराम भरेको बोर्डले जनाएको छ । यस वर्षको कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र तोक्ने काम पूरा भएको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए। उनका अनुसार केन्द्राध्यक्ष, निरीक्षक, नियुक्त गर्नेलगायतका काम पनि अन्तिम चरणमा पुगिसकेको छ । प्राविधिक काम बाहेकका अन्य काम पूरा भइसकेको बोर्डले जनाएको छ । यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थीले ग्रेड वृद्धि परीक्षा दिन लागेका बताइएको छ । उनीहरूले जति विषयमा कम नम्बर आएको थियो त्यत्तिकै विषयको मात्र ग्रेड वृद्धि परीक्षा दिनुपर्नेछ । यसअघि तीन वा सोभन्दा बढी विषयमा नन ग्रेडेड (एनजी) ल्याएका विद्यार्थीले यो वर्ष पूरै विषयको परीक्षा दिनुपर्ने भन्ने थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले लेटर ग्रेडिङ निर्देशिका, २०७८ संशोधन गरेको थियो । त्योसँगै परीक्षाका लागि छ वटै विषयको फाराम भरे पनि जति विषयमा एनजी आएको छ, त्यतिकै विषयको मात्र परीक्षा दिनुपर्ने भएको हो । राष्ट्रिय परीक्षा बोर्डको प्रस्तावमा मन्त्रिस्तरीयबाट लेटर ग्रेडिङ निर्देशिका, २०७८ लाई संशोधन गर्ने निर्णय भएको थियो । दुई विषयभन्दा बढी जतिसुकै विषयमा एनजी प्राप्त भएको छ ती विषयको मात्र ग्रेड वृद्धिको परीक्षा दिनुपर्नेछ । यसअघि छ वटै विषयमा फाराम भरे पनि जति विषयमा एनजी आएको छ, त्यत्तिकै परीक्षा दिनुपर्ने अध्यक्ष डा शर्माले बताए । परीक्षा फाराम भर्दा छ वटै विषय भरे पनि जुन विषयमा एनजी आएको छ ती विषयको मात्र परीक्षा दिनुपर्नेछ । यसअघि गत वर्षदेखि लागू भएको लेटर ग्रेडिङ सिस्टमअनुसार दुईभन्दा बढी विषयमा एनजी ल्याएका विद्यार्थीले पूरै विषयको परीक्षा दिनुपर्ने भन्ने थियो । तर, गत वर्ष लिइएको ग्रेड वृद्धि परीक्षामा सफल हुन नसकेपछि ५६ हजार विद्यार्थीले यो वर्ष हुने परीक्षामा सबै विषयको परीक्षा दिनुपर्ने भएको थियो । यस्तो हुँदा ‘ड्रप आउट’ हुने सम्भावना बढेपछि बोर्डको प्रस्तावमा शिक्षामन्त्री अशोककुमार राईले निर्देशिका संशोधन गरेका थिए।
सिम्रिक एयरका सबै उडानमा प्रतिबन्ध काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरका सबै उडानमा प्रतिबन्ध लगाएको छ । गत शुक्रबार संखुवासभामा सिम्रिक एयरको नाइन एन– एजेजेट हेलिकप्टर दुर्घटनामा परेको थियो । चालक सुरेन्द्र पौडेलसहित पाँचजना सवार उक्त हेलिकप्टर दुर्घटनाका तीनजना घाइतेमध्ये एकजनाको मृत्यु भएको भने बाँकीको उपचार भइरहेको छ । यसपछि प्राधिकरणले सिम्रिक एयरका  हेलिकप्टरहरूको विस्तृत निरीक्षण, वायु योग्यता र सुरक्षा व्यवस्थापन प्रणालीको लेखा परीक्षणका लागि उडानमा प्रतिबन्ध लगाएको जनाएको छ ।
सप्तरीमा एकैदिन तीनजनाले गरे आत्महत्या सप्तरी। सप्तरीमा आइतबार तीनजनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमध्ये दुईजना महिला र एक जना पुरूष छन् । राजविराज नगरपालिका–१ डुमरीका महेशप्रसाद यादवका १८ वर्षिया छोरी की बेबी भन्ने देव कुमारी यादव, राजविराज नगरपालिका–६ खर्साल टोल बस्ने  शिसन मण्डलको ३५ वर्षीया श्रीमती तिलाठी मण्डल र राजविराजकै वीरेन्द्र साहका २६ वर्षीय छोरा विवेक साहले आइतबार आत्महत्या गरेका जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता नरेश कुमार सिंहले जानकारी दिएका छन् । उनका अनुसार देव कुमारीले आफ्नै सुत्ने कोठाको फलामको बलोमा सलले पासो लगाई झुण्डिएर आत्महत्या गरेकी हुन् । घरायसी विवादका कारण नाम नखुलेको विषादी सेवन गरेकी तिलाठीको गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारको क्रममा मृत्युु भएको प्रवक्ता सिंहले बताए । विवेक भने होटलको कोठाभित्र झुण्डिएको अवस्थामा फेला परेको प्रहरी चौकी फतेपुर सप्तरीले जनाएको छ ।  सप्तकोसी नगरपालिका–१ फतेपुर चोकस्थित रहेको इन्द्रेणी होटल एण्ड लजको कोठा नम्बर १०४ मा झुण्डिएर विवेकले आत्महत्या गरेका हुन् । उनी शनिबार साँझ होटेल पुगेर बास बसेका प्रहरीको भनाइ छ । होटल सञ्चालक अशोक चौधरीले बिहान कोठाहरू चेकजाँच गर्ने क्रममा कोठा खोलेपछि झ्यालबाट हेर्दा विवेक सिलिङ पङ्खामा सलको पासो लगाई झुण्डिएको देखेका हुन् । यी तीनवटै घटना आत्महत्याजस्तो देखिए पनि विभिन्न कोणबाट अनुसन्धान भने भइरहेको प्रहरी प्रवक्ता सिंहले बताए ।
प्रतिकूल मौसमले सगरमाथा आरोहणमा कठिनाई काठमाडौँ। यतिबेला सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि सयौं संख्यामा यतिबेला प्रतिक्षारत छन्। तर मौसम अनुकुल नहुँदा आरोहण हुन सकेको छैन। सगरमाथा आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर)ले सगरमाथाको चुचुरोसम्म बाटो खुलाएपछि आरोही चुचुरोतिर उक्लिन्छन्। तर, झण्डै दुई सातादेखि सगरमाथाको आधार शिविर र आसपास क्षेत्रमा बसेका आरोहीलाई अझै आरोहण कहिले खुल्ने हो निश्चिन्त हुने अवस्था छैन। आइसफल डाक्टरले सगरमाथाको साउथ कोल (चौथो शिविर)सम्म बाटो बनाइसकेका छन्। उनीहरुले चुचुरोसम्म रोप फिक्सिङ (डोरी टाँग्ने) गरेपछि मात्रै सगरमाथा आरोहण शुरु हुन्छ। पश्चिमी र स्थानीय वायुको प्रभावले एक सातादेखि बिग्रिएको मौसम शुक्रबारदेखि क्रमिक रुपमा सुधार आएको छ। दुई दिनदेखि राजधानी काठमाडौँसहित देशभरको आकाश खुलेर चर्को घाम लागेको छ। देशभरको मौसममा सुधार आएपनि आरोहणको संघारमा बिग्रिएको सगरमाथा क्षेत्रको मौसममा अझै सुधार आएको छैन। वसन्त ऋतुको सगरमाथा आरोहणका लागि मौसम पूर्वानुमान गरिरहेका एक वरिष्ठ मौसमविद्का अनुसार सगरमाथाको सात हजार ५०० मिटरमाथितिर तीब्र वेगको हावा चलिरहेको छ। उक्त क्षेत्रमा मे ३ तारिखदेखि बिग्रिएको मौसम अझै सुधार आउन नसकेको हो। “सगरमाथा क्षेत्रमा घाम लागिरहेको छ, तर, सात हजार ५०० मिटरभन्दामाथि तीव्र बेगको हावा चलिरहेकाले माथि जानसक्ने अवस्था नै छैन, वैशाख २६ र २७ गतेसम्म नै यस्तो हावा चलिरहने देखिन्छ”, उनले भने। अहिलेको मौसममा सगरमाथा क्षेत्रमा प्रतिघण्टा ४० देखि ५० किलोमिटर हावाको वेग चलेकाले आरोहणमा कठिनाइ भएको हो। आरोही केही सगरमाथा आधार शिविरमा छन् भने केही काठमाडौँ फर्किएका छन्। अहिलेको मौसममा आरोहण गर्दा जोखिम हुने भएकाले सबै आरोही अनुकूल मौसमको पर्खाइमा छन्। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान शाखाका मौसमविद् रोजन लामिछानेका अनुसार मौसम क्रमिकरुपमा सुधार हुँदैगएको छ। केही दिनका लागि नयाँ मौसमी प्रणाली देखिएको छैन। “सगरमाथा क्षेत्रमा केही बादल लागेको छ, अपरान्हतिर सगरमाथाको माथिल्लो भेगमा बादल बढेर हल्का वर्षा हुने देखिन्छ”, उनले भने। महाशाखाले हरेक दिन साँझ सगरमाथालगायत हिमालको मौसम पूर्वानुमान गर्ने गरेको छ। पछिल्लो विवरणमा सगरमाथा क्षेत्रको मौसममा केही सुधार आइरहेको छ। महाशाखाको लुक्ला स्टेशनबाट समन्वय गरेर मौसम पूर्वानुमान गरिन्छ। महाशाखाले सगरमाथा, अन्नपूर्ण क्षेत्रलगायतमा सरसफाई अभियानलाई पाँच दिनसम्मको मौसम पूर्वानुमान गरेर पठाइने गरेको मौसमविद लामिछानेले जानकारी दिए। मौसम अनुकूल भइदिएको भए यही वैशाख २१ गते बिहीबार सगरमाथाको चुचुरोसम्म पुग्ने बाटो खुलिसक्थ्यो। पूर्वनिर्धारित तालिकाअनुसार सगरमाथाको चुचुरोसम्म डोरी टाँग्ने (रोप फिक्सिङ) गर्ने योजना रद्द भयो। झण्डै दुई सातादेखि बिग्रिएको मौसमले सगरमाथा आरोहणमा समेत अवरोध पुगेको छ। प्रतिकूल मौसमका कारण आइसफल डाक्टरलाई चुचुरोसम्म पुग्न कठिन भइरहेको सगरमाथाको दोस्रो शिविरमाथिको बाटो बनाउने जिम्मा पाएको इमेजिन नेपाल ट्रेक एन्ड एक्सपिडिसन कम्पनीले जनाएको छ। इमाजिन नेपालका कार्यकारी निर्देशक दावा ग्याल्जेन शेर्पाले मौसमले साथ दिएमा वैशाख २९ गते सगरमाथाको चुचुरोसम्म डोरी टाँगेर आरोहण शुरु हुने विश्वास व्यक्त गरे। “सगरमाथा क्षेत्रको मौसम अझै पूर्णरुपमा सुधार आएको छैन, शुक्रबारको तुलनामाभन्दा आज मौसम राम्रो छ, आशा छ, वैशाख २९ सम्म चुचुरोसममको बाटो खुलाउने योजना साकार हुनेछ”, उनले भने। सगरमाथाको दोस्रो शिविरसम्म सगरमाथा प्रदुषण नियन्त्रण समिति (एसपिसिसी) ले बाटो बनाएको थियो। सगरमाथाको साउथ कोलसम्म वैशाख १० गते नै बाटो खुलिसकेको थियो। सगरमाथा आरोहणको ढोका खुलाउने प्रतिक्षामा रहेका आइसफल डाक्टरजस्तै आरोहणको अनुकूल मौसमका लागि नेपाली र विदेशी गरी चार सयभन्दा बढी सगरमाथा आरोही प्रतिक्षारत छन्। केही आरोहीले आधार शिविरबाट विभिन्न शिविरतिर सामान ओसारिरहेका छन्। आरोहणका लागि सिजनमा विभिन्न कम्पनीले छुट्टाछुट्टै निकायबाट मौसम रिपोर्ट लिन्छन्। ‘वीन्डी एप’, ‘निम्सदाई स्टोर एप’ लगायतबाट मौसम रिपोर्ट लिइने गरिएको छ। विभिन्न मुलुकबाट आएका आरोहीले सम्बन्धित मुलुकबाट मौसमी विवरण लिएर आरोहणमा निस्कन्छन्। पर्यटन विभाग पर्वतारोहण शाखाका निर्देशक युवराज खतिवडाले सगरमाथा क्षेत्रमा मौसम क्रमिक रुपमा सुधार हुँदै गएको बताए। उनले भने, “सगरमाथा क्षेत्रमो मौसम सुधार भइरहेको छ, म आफू पनि आधार शिविर पुगेर आजै फर्किदैँछु। आरोही अनुकूल मौसमको प्रतिक्षामा आधार शिविरमा आराम गरिरहेका छन्।” वसन्त ऋतुमा सगरमाथा आरोहण गर्न इतिहासकै सर्वाधिक बढी आरोहीले अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार ४३ आरोही समूहका चार सय ६६ आरोहीले आरोहण अनुमति लिएका हुन्। जसमा ९८ महिला र तीन सय ६८ पुरुष छन्। सगरमाथा आरोहणको ७० वर्षे लामो इतिहासमा यो यामको आरोहणमा सबैभन्दा बढी आरोहीको सङ्ख्या हो। आरोहणलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन विभागले सगरमाथा आधार शिविरमा अनुगमन तथा सहजीकरण गर्नका लागि सम्पर्क कार्यालय स्थापना गरेको छ। खिमलाल गौतमको संयोजकत्वमा सम्पर्क अधिकृत, पर्यटन मन्त्रालय, विभाग, नेपाली सेना, नेपाल प्रहरी, हिमालय उद्धार संघ, एसपिसिसी र स्थानीय प्रतिनिधिहरू रहेको समिति सम्पर्क कार्यालयमा रहेर सहजीकरण गरिरहेको विभागले जनाएको छ।
सिरहामा बढ्दो लागुऔषध तस्करी, १४ केजी गाँजासहित दुई युवक पक्राउ सिरहा। सिरहामा पछिल्लो समय गाँजाको खेती तथा तस्करी व्यापक रुपमा भइरहेको पाइएको छ। जिल्लाको पूर्व पश्चिम लोकमार्गअन्तर्गत पर्ने कर्जन्हा, मिर्चैया, गोलबजार, धनगढीमाई र लाहान नगरपालिकाको उतरी चुरे क्षेत्रमा  वर्षौ‌ंदेखि किसानहरुले  गाँजा खेती गर्ने र तस्करहरुले खुल्ला सीमानाकाको बाटो प्रयोग गरी भारत निकासी गर्ने गरेको पाइएको हो। शनिबार मात्रै प्रहरीले जिल्लाको गोलबजारबाट करिब  १४ केजी लागुऔषध गाँजासहित दुई युवक पक्राउ गरेकाे छ। प्रहरीले गोलबजार नगरपालिका ४ शिवमन्दिर नजिकबाट १३ केजी ८४० ग्राम गाँजासहित गोलबजार-१  मुक्सारका २६ वर्षीय महेन्द्र साह र वार्ड नम्वर २ का ३६ वर्षीय श्यामकुमार साहलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक डुपेन्द्र बुढाथोकीले जानकारी दिए। विशेष सुचनाको आधारमा गोलबजार-४ शिवचौक नजिक पार्किङ गरिराखेको प्र.२–०१–००२ ह. ०२९८ नम्बरको अटोमा लुकाइछिपाई राखेको  ५ किलो ८४० ग्राम गाँजासहित महेन्द्र साह र  प्र. २–०१–००१ ह. १०५६ नम्बरको अटोमा  लुकाइछिपाई राखेको ८ किलो गाजासहित श्याम कुमार साहलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक बुढाथोकीले बताए। प्रहरीले विशेष सुराकिको अधारमा केन्द्रिय अनुसन्धान लागुऔषध विशेष ब्युरो र ईलाका प्रहरी कार्यालय गोलबजारका सई विश्व बुदाथोकीको कमान्डमा खटिएको टोलिले गाँजा सहित दुईजनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय सिरहाका सूचना अधिकारी डीएसपी रवीन्द्रराज पाण्डेले जानकारी दिए। प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको सूचना अधिकारी पान्डेले बताए। केही समययता भारतीय सीमानाका खुकुलाे भएसँगै भारतीय बजारबाट तस्करीका खाद्यान्न लगायतका सामग्री पारी भित्र्याउने र नेपालबाट भारतीय तस्करहरुले गाँजा लगायतका तस्करीका सरसम्मानहरु वारी लाने गरेका स्थानीहरु बताउँछन्। भारतीय बजारमा मदिराको विक्रवितरणमा प्रतिबन्ध लगाएसँगै गाँजाको माग ह्वातै बढेको स्थानीयहरुको भनाई छ। नेपालमा ७ हजार प्रतिकिलो पर्ने गाँजा भारतीय बजारमा १५ देखि २० हजार (भारतीय रुपैया)सम्म विक्रिवितरण हुने भएकोले व्यापक तस्करी भइरहेकाे छ। तराईका जिल्लाहरूमा सम्बन्धित् निकायको निरीहताका कारण गाँजाखेती र तस्करी भने दिनप्रतिदिन फस्टयाइरहेको अवस्था छ।
पार्किङ क्षेत्र नभएको भन्दै ट्याक्सी व्यवसायीद्वारा सडक अवरुद्ध (फोटोफिचर) काठमाडौं। ट्याक्सी व्यवसायीहरुले काठमाडौंको मैतीदेवीमा सडक अवरुद्ध गरेका छन्। पार्किङ क्षेत्र नभएको भन्दै व्यवसायीहरुले सडक अवरुद्ध गरेका हुन्। व्यवसायीले सडक अवरुद्ध गर्दै वार्ताका लागि काठमाडौं महानगर पुगेका छन्। उनीहरुले माग पूरा नभए महानगर नै घेर्ने चेततावनी पनि दिएका छन्।
साइपालमा खाद्य संकट, सिंहदरबार नधाएर पुग्दैन चामल बझाङ। साइपाल गाउँपालिका–४ धुलीका सोनाम तामाङको परिवारमा सात जना छन् । गाउँमै बस्ने उनीहरूको आयस्रोत ‘सिजन’अनुसार यार्सागुम्बा सङ्कलन नै हो । दुई वृद्धावस्था उमेरका बाहेक पाँचै जना यार्सागुम्बा सङ्कलनमा हिमाल चढ्नुहुन्छ । यसबाट तामाङको परिवारले रु पाँच–छ लाख आम्दानी गर्दछ । त्योबाहेक उनीहरूको आम्दानीको स्रोत अन्य केही छैन । एक महिना पुग्ने गरी मात्रै खाद्यान्न उत्पादन हुने धुलीमा ११ महिना किनेरै खानुपर्छ । सोनामको परिवारमा वर्षभरिका लागि करिब ११ क्विन्टल चामल आवश्यक पर्छ । गएको वर्षमात्रै उनको परिवारले नौ क्विन्टल चामल किन्नुपर्‍यो । सहुलियत चामल (खाद्य संस्थानबाट प्राप्त) साढे दुई क्विन्टलमात्रै पाएपछि महँगोमा किन्नुपरेको सोनामले बताए। तामाङ परिवारले एक वर्षमा रु एक लाख चामल ढुवानीमै खर्च गरे। चामलसँगै अन्य दैनिक उपभोग्य सामानमा पनि वार्षिक झन्डै रु एक लाख खर्च हुने गरेको उहाँले सुनाउनुभयो । “सदरमुकाम चैनपुरमा पाउने सामान साइपालमा पुग्दा चौबर हुने गर्छ”, उनले भने, “साइपालको धुली पुग्न चैनपुरबाट पाँच दिन पैदलयात्रा गर्नुपर्छ । पाँच दिन लगाएर बोकेको सामान तेब्बरभन्दा बढी नै हुन्छ ।” चिसोले अलि बढी नै खाना खाने त्यसैमा दुवै छाक भात खाने हुँदा क्विन्टलका क्विन्टलनै खरिद गर्नुपरेको उनले बताए। सोनामको जस्तै अवस्था छ, साइपाल गाउँपालिका–५ बलौडीका पदम बोहराको । पदमको परिवारमा पाँच छन् । उनको परिवारलाई वार्षिक सात क्विन्टल चामल आवश्यक पर्छ । हिउँदेबाली कोदो र जौँ एक महिनामात्रै पुग्ने भएपछि नियमित किनेरै खानुपरेको उनले बताए। “गत वर्ष खाद्यको चामल डेढ क्विन्टलमात्रै पाएको हुँ”, उनले भने, “त्यो चामल दुई महिनामात्रै पुग्यो । बाँकीका महिना किनेरै खायौँ ।” ताक्लाकोट नाका बन्द हुँदा सास्ती नेपाल–चीन सीमानाका पूर्णरूपमा बन्द भएको पाँच वर्ष भयो । नाका बन्द हुँदा मारमा परे साइपालवासी । धुलीबाट नजिकै पर्ने हुँदा साइपालवासीका दैनिक उपभोग्य सामान ताक्लाकोटबाटै आउँथे । खाद्य संस्थानले दिने मूल्यभन्दा सस्तोमा चिनियाँ खाद्यान्न साइपाल पुग्थ्यो । सोनामकी श्रीमती सोनाम तामाङ (दम्पतीको एउटै नाम)ले भनिन्, “हामीलाई खाद्य सङ्कट हुन लागेको पाँच वर्ष नै भयो । ताक्लाकोट नाका बन्द भएपछि सदरमुकामबाट सामान ल्याउन सुरु गर्‍यौं । सदरमुकामबाट ल्याउँदा सामानको मूल्य चौबरभन्दा बढी पर्न थाल्यो ।” साइपाल–५ न्यूनाका वडाध्यक्ष जैपाल बोहराका अनुसार ताक्लाकोटमा नाकाबन्दी हुनुअघि वडा नं ३, ४ र ५ का गाउँ न्यूना, बलौडी, लट्टोन, कोल, रजाडा, सैनगाउँ, बिछाडा, धलौन, एैराडी, पराली, डाउगाउँलगायतमा चिनियाँ सामान नै हुन्थ्यो ।” धलौनमा भने तलकोट गाउँपालिका पनि नजिक पर्ने हुँदा दुवैतिरबाट आवश्यकतानुसार सामान आउने गरेको उनी सम्झन्छन्। तर नाकाबन्दीपछि भने आवतजावत नै ठप्प भएको उनले बताउए। दुई वर्ष अगाडि साइपालमा निकै खाद्य संकट थियो । भोकमरी भएपछि धुलीका भीम धामीले चैनपुरबाट चामल माग गरे। तलकोटको रूपातोलाका गोविन्द बोहरा, उनका दाई प्रदीपसहित तीन जनाले एक क्विन्टल चामल धामीको घरमा पुर्‍याए। एक क्विन्टल चामल पुर्‍याए वापत भीमबाट प्रतिकेजी रु दुई सयका दरले रु २० हजार बोहरा दाजुभाइले बुझे। “रूपातोलाबाट धुलीसम्म प्रतिकेजी रु दुई सय लागेकै दररेट हो”, गोविन्दले भने, “अरु सामान त रु दुई सयकै दरले सधैँ बोकिन्थ्यो, अहिले पनि सोही मूल्य पर्ने सामान बोकिरहेका छौँ । चामल भने त्यसबखत नै पहिलो चोटी बोकेका हौँ ।” मान्छेले चामल बोकेर साइपालको धुली पुर्‍याउँदा प्रतिक्विन्टल (मोटो चामल) रु साढे २२ हजारमा पुग्छ । खच्चडमा बोकाउँदा प्रतिक्विन्टल रु १३ हजार पर्छ । न्यूनाका जीवन बोहराले भने, “खच्चड हिउँदयाममा मात्रै आउँछ । बर्खामा खोलानाला बढ्ने हुँदा मान्छेले मात्रै आवतजावत गर्छन् । बर्खामा कसैको परिवारमा खाद्यसङ्कट भए बोकेरै ल्याउनुपर्छ । आफैँले बोक्न नसके भरियालाई ज्याला तिरेर ल्याउनुपर्छ ।” गोविन्दका अनुसार किर्किट्या हुँदै कालडाँडाबाट न्युनासम्म प्रतिकेजी रु एक सय ८० ज्याला लाग्छ भने बलौडीसम्म रु एक सय ९० र धुलीसम्म प्रतिकेजी रु दुई सय लाग्छ । बोहोराले भने, “हामी महिनामा चार–पाँचपटक साइपालको सामान बोकेर गन्तव्यमा पु¥याउँछौँ ।” प्रायः फलामका रड, किला, जस्तापाता, भाँडाकुँडालगायतका विभिन्न सामान केजीको हिसाबले बोक्ने गरेको उनले बताए। “खाद्यको ढुवानी बढीजसो खच्चडबाट नै हुन्छ”, उनले भने। ठेक्का प्रक्रियामा निकै सास्ती साइपालवासीले खाद्य संकटको समस्या लिएर राज्यको दैलो चहार्न थालेको वर्षौैँ बितिसक्यो । करिब तीन हजार जनसङ्ख्या रहेको साइपालमा खाद्यान्नका लागि पालिकाले हरेक वर्ष सिंहदरबार चहार्दै आएको छ । साइपाल गाउँपालिकाका पूर्वअध्यक्ष राजेन्द्र धामी आफ्नो पाँचवर्षे कार्यकालमा चारपटक खाद्यान्नका लागि बालुवाटार पुगेका थिए। अहिलेका अध्यक्ष मानवीर बोहरा र उपाध्यक्ष डोल्मा तामाङ पनि खाद्यको समस्या समाधानका लागि यसै वर्ष तीनपटक राजधानी पुगिुसके। प्रधानमन्त्रीको ध्यानाकर्षणपछि मात्रै साइपालले छिटो चामल पाउने गरेको पूर्वअध्यक्ष धामीले बताए। उनले भने, “साइपालका लागि स्थायी डिपो नहुँदा सधैँ खाद्यान्नका लागि पिरलो हुन्छ ।” ठेकेदारले पनि आफूखुसी खाद्यान्न पु¥याउँदा वितरणमा समानता नहुने गरेको उनले बताए। साइपालमा खाद्यान्नका लागि यस वर्ष दुई हजार पाँच सय क्विन्टल चामलको ठेक्का परेको छ । चालु आर्थिक वर्षमा साइपालमा ढुवानी गर्ने गरी देवराज जोशीले ठेक्का लिएका छन्। तर चालु आवको १० महिना बित्नै लाग्दासमेत एक हजार पाँच सय क्विन्टलमात्रै चामल पुगेको साइपाल गाउँपालिकाका अध्यक्ष मानवीर बोहराले बताए। उनका अनुसार साइपालमा चामलको आवश्यकता पाँच हजार क्विन्टल हो । तर ठेकेदारले समयमै ढुवानी नगर्दा न ठेक्का रद्द गर्न सकिने, न त थप्न नै सकिने भएको छ । “साइपालमा खाद्यान्न नभएर कन्दमूलको खोजी गर्नुपर्ने अवस्था भइसकेको छ”, उनले भने, “यता ठेकेदारले वेवास्ता गरेजस्तो देखिन्छ । हामीले दुई हजार पाँच सय क्विन्टल चामल दशैँअगावै पु¥याइसक्नुपथ्र्यो । त्यसपछि फेरि दोस्रो चरणमा थप दुई हजार पाँच सय क्विन्टलको तयारी गर्ने सोच बनाएका थियौँ । तर ठेकेदारले १० महिना बित्न लाग्दासमेत पहिलो ठेक्का नै पूरा गरेको छैन”, उनले भने। अध्यक्ष बोहराका अनुसार अहिले साइपालमा गएको चामल पनि निश्चित व्यक्तिको कब्जामा गइरहेको छ । “स्थानीय सबैसँग धेरै खरिद गर्न पैसा पनि हुँदैन । व्यापारीदेखि हुनेखानेले बढी चामल राख्ने गरेको सुनिएको छ”, अब निगरानी बढाउनुपर्ने उनले बताए। चालु आवका लागि साइपालमा गएको चामल वडा नं ४ र ५ मा बढी गएको छ । गएको मङ्सिरमा सबैभन्दा बढी न्यूना गाउँमा चामल गएको अध्यक्ष बोहराले बताए। यता वडा नं ५ का वडाध्यक्ष जैपाल पनि यसपटक भोकमरी टर्नेमा विश्वस्त देखिएका छन्। “पहिलो लडमा टाढाका गाउँमा पठायौँ । अहिले आइरहेको छैन”, उनले भने। अन्य वडामा भने दुई महिना पुग्ने गरी समेत चामल नगएको पालिका अध्यक्ष बोहराले बताए। साइपालमा कतै बढी त कतै कम खाद्यान्न गएकोबारे प्रमुख जिल्ला अधिकारी नारायण पाण्येयले पनि वितरणमा एकरूपता हुनुपर्ने बताए। “योभन्दा अगाडि मनोमानी ढङगले चामल वितरण गरेको देखियो”, प्रजिअ पाण्डेयले भने, “कुनै गाउँमा चार–पाँच महिनाकै लागि पुग्ने गरी चामल गएको देखिन्छ भने कुनै गाउँमा एक–एक बोरामात्रै चामल गएको छ । अब वडाध्यक्षहरूले आफ्नो मातहतमा लिएर नुन, खाद्यान्न वितरण गर्नुपर्छ”, यसका लागि पत्राचार गरेको उनले बताए।
५४ तोला सुन र ८ केजी चाँदीसहित तीन जना पक्राउ विराटनगर। कोशी प्रदेश प्रहरीले ५४ तोला सुन र आठ केजी चाँदीसहित तीनजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतीय नागरिक ६१ विनोद कुमार मुरारका, उनकी ५६ वर्षीया श्रीमती पुष्पा मुरारका र भ्यान चालक विराटनगर–२ का ५२ वर्षीय विमल कामत रहेका छन्। विराटनगरको रानी नाकाबाट भारततर्फ लैजान लागेको अवैध ५४ तोला सुन र आठ केजी चाँदीसहित उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। पक्राउ परेका विनोद दुगड ग्रुपका लेखापाल रहेको अनुसन्धानमा खुलेको छ । उनी आफ्नो घर भारतको विहार कटिहार जान लागेका थिए। उनीहरुको साथबाट ५४ तोला सुन, आठ केजी चाँदी र ७ लाख ९५ हजार २८९ भारतीय रुपैयाँ बरामद गरिएको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार बरामद गरिएको सामान करिब ९० लाख मूल्य बराबरको छ ।
मनास्लु पदमार्ग पार गर्ने क्रममा भरियाको मृत्यु गोरखा। लार्केपास गर्ने क्रममा विदेशी पर्यटकसँग गएका भरियाको ज्यान गएको छ। मनास्लु पदमार्ग हुँदै लार्केपास गरी मनाङतर्फ निस्कने क्रममा अत्याधिक हिमपातका कारण बिरामी परेका भरिया प्रकास दवाडीको ज्यान गएको हो। नीलकण्ठ नगरपालिका–११ धादिङका २० वर्षीय दवाडी यही वैशाख १८ गते ज्यान गएको प्रहरीले जनाएको छ। बहराल एडभेन्चर प्रालिबाट पोर्टरका रूपमा लार्के पास गर्न गएका दवाडीको शनिबार मृत्यु भएको डीएसपी लिलाराज लामिछानेले बताए। ५००६ मिटर उचाइ रहेको सो ठाउँमा बिरामी परेका उनी भारी हिमपात भएपछि स्वास्थ्य अवस्था जटिल बनेको थियो। सबै यात्रुबाट एक्लिएका उनको शव शनिबार लार्के भन्ज्याङ नजिकै भेटिएको डीएसपी लामिछानेले बताए।
सिम्रिक एअरका तीनवटै हेलिकोप्टर ग्राउन्डेड काठमाडौं। सिम्रिक एयरका तीनवटा हेलिकोप्टर ग्राउन्डेड भएका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरका तीनवटा हेलिकोप्टर ग्राउन्डेड गरेको हो। सङ्खुवासभामा हेलिकोप्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएपछि कम्पनीका बाँकी तीनवटा हेलिकोप्टरलाई ग्राउन्डेड गराइएको हो। पछिल्लो एक महिनाको अवधिमा तीनवटा हेलिकोप्टर दुर्घटनामा परेपछि प्राधिकरणले बाँकी सबै हेलिकोप्टरलाई ग्राउन्डेड गराएको जनाएकाे छ। अब ती हेलिकोप्टर माथि सुरक्षा जाँच गरिने छ। संखुवासभाको भोटखोला गाउँपालिका-४, सिप्रुङ भन्ने स्थानमा 9NAJZ हेलिकोप्टर अवतरणका क्रममा शुक्रबार दुर्घटनामा परेको थियो। उक्त हेलिकोप्टरमा सवार पाँच जनामध्ये घाइते चार जनाको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ।
आजको मौसम: यी प्रदेशहरूमा हुनेछ मेघगर्जनसहित बर्षा काठमाडौं। हाल देशमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। साथै कोशी प्रदेशका पहाडी भू भागका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ। दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र अन्य प्रदेशका पहाडी भूभागका एक दुई स्थानहरूमा मेघ गर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। राति भने कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।
यसकारण हेर्न मिलेको छैन भर्खरै सार्बजनिक डिभी चिठ्ठाको नतिजा काठमाडौँ । ‘अमेरिकी डिभी चिठ्ठा’को नतिजा सार्वजनिक भएको छ । गत वर्ष (२०२२) मा भरेको डिभीको नतिजा आज ९ः४५ (मे ६ तारिख न्यूयोर्क समय मध्यान्ह १२ बजेपछि) बजेपछि सार्बजनिक भएको हो। डिभी लट्री २०२४ को नतिजा आज आएको हो। तर, नतिजा सार्वजनिक भएको केही मिनेटमै नतिजा जाँच गर्ने वेबसाइट डाउन भएको छ। एकै पटक अत्याधिक प्रयोगकर्ताले वेवसाईट खोलेका कारण ट्राफिक अट्याकमा परेर साईट खुल्न सकेको छैन। अहिले डाउन भएको भन्दै सामाजिक सञ्जालमा सयौं प्रयोगकर्ताले प्रतिक्रिया जनाएका छन्। ‘अमेरिकी डिभी चिठ्ठा’ परे नपरेको हेर्न ‘डिभी’ फारम भर्दाको ‘कन्फर्मेसन’ पेजमा भएको नम्बर, आफ्नो थर र जन्म मिति आवश्यक पर्छ। ब्युरो अफ काउन्सुलर अफेयर्सको वेब साइटमा गई आफ्नो नाम र कन्फरमेसन नम्बर राखेर नतिजा हेर्न सकिन्छ। नतिजा चेक गरेको पैसा लाग्दैन। इडिभी पर्यो कि परेन भनेर साइट रिकभर भएपछि https://www.dvlottery.state.gov/लिंकमा गएर डिभी चिठ्ठाको नतिजा हेर्न सकिन्छ। हरेक वर्ष विभिन्न मुलुकबाट लाखौं मानिसहरू यही चिठ्ठा कार्यक्रम मार्फत अमेरिका जाने गरेका छन्। डाइभर्सिटी भिसा लोटटरी प्रोग्रामलाई ग्रिन कार्ड लोटरी कार्यक्रमको नामबाट चिनिन्छ। यस कार्यक्रमअन्तर्गत अमेरिकाले हरेक वर्ष ५० हजार आप्रवासी जनसंख्यालाई स्थायी नागरिकता प्रदान गर्दै आएको छ।
null
दैलेखमा खोलामा डुबेर एक युवकको मृत्यु दैलेख । दैलेखमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ । दैलेखको नारायण नगरपालिका–११ को भन्भनेमा रहेको लोहोरे खोलामा डुबेर नौमुले गाउँपालिका–८ चौराठाका १८ वर्षीय खगेन्द्र नेपालीको ज्यान गएको हो । आज दिउँसो लोहोरेखोलामा पौडी खेल्न लाग्दा डुबेका नेपाली मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए ।
रूखको हाँगा खसेर एक जनाको मृत्यु महेन्द्रनगर । रुखको हाँगा खसेर कञ्चनपुरका आज एक जनाको मृत्यु भएको छ । सामुदायिक वनमा दाउरा खोज्न हिँडेका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ का ४५ वर्षीय अनिल डगौराको मृत्यु भएको हो । गाउँलेसित स्थानीय बैजनाथ सामुदायिक वनमा दाउरा खोज्न हिँडेका डगौरालाई रूखको हाँगा खसेर टाउकोमा चोट लागेको थियो । उपचारका क्रममा महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पताल पु¥याउँदा उनलाई मृत घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेको उनले बताए । हाँगा लागेर डगौराको टाउकोमा चोट लागेको थियो । घटनापछि इलाका प्रहरी कार्यालय झलारीका प्रमुख सूर्यबहादुर शाहीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा गएको छ । “अहिले नै मृत्युको कारणबारे भन्न सकिने अवस्था छैन”, प्रवक्ता डाँगीले भने । शव महाकाली अस्पतालमा राखिएको छ ।
भाइले गरे दिदीको हत्या दोलखा। आफ्नै दिदीको हत्या आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। ३२ वर्षीया कल्पना भुजेल श्रेष्ठको हत्या आरोपमा मेलुङ गाउँपालिका-१ पोवटी बस्ने २३ वर्षीय रामभरत भुजेललाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो। विगत १ वर्षदेखि माइतमा बस्दै आएकी कल्पनालाई उनकै भाई रामभरतले उतिसको दाउराले टाउकोमा प्रहार गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनानकारी दिएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
बजेट अधिवेशन भोलिदेखि, यस्तो छ सम्भावित कार्यसूची काठमाडौं । संघीय संसद्को बजेट अधिवेशन भोलिदेखि सुरु हुने भएको छ । संसद्का दुवै सदनको बैठक आइतबार अपराह्न ४ बजे बस्ने गरी बोलाइएको हो । राष्ट्रियसभाको १४औं अधिवेशनको पहिलो बैठक बस्न लागेको हो । प्रतिनिधिसभाको भने यो दोस्रो अधिवेशनको पहिलो बैठक हो । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बैठक बस्नेछ । संसद्को यो अधिवेशनबाट सरकारका नीति तथा कार्यक्रम र नयाँ बजेट पारितलगायत कार्य गरिनेछ । आइतबारको बैठकका लागि विभिन्न कार्यसूची तय गरिएको छ । प्रतिनिधिसभा बैठकको सुरुआतमा सभामुख देवराज घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन् । सभामुखले नै राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्री पदमा नियुक्तिसम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउनेछन् । त्यसपछि सभामुखले सभामुखको अनुपस्थितमा बैठकको अध्यक्षता गर्न सदस्यहरूको मनोनयन गर्ने सम्भावित कार्यसूची छ । यस्तै, कानुन, न्याय संसदीय मामिलामन्त्री धनराज गुरुङले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ पेस गर्नेछन् । अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘आ।व। २०८०/०८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा(कर प्रस्तावबाहेक)माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
भारतीय गाडीले ठक्कर दिएका बैठाको उपचारको क्रममा मृत्यु सर्लाही । नवलपुर–मलङ्गवा सडकखण्डमा गाडीको ठक्करवाट एकजनाको मृत्यु भएको छ । सो सडकखण्ड अन्तर्गत हरिपुर नगरपालिका –४, हरैयामा डीजेजडित गाडीको ठक्करबाट एकजनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय, सर्लाहीका अनुसार बीआर ३० ए २७२१ नम्बरको भारतीय गाडीले ठक्कर दिँदा पैदलयात्री चन्द्रनगर गाउँपालिका–१, मोहनपुरका २२ वर्षीय पप्पु बैठाको उपचारको क्रममा मृत्यु भएको हो । शुक्रबार साँझ भारतीय नम्बर प्लेटको डीजे गाडीको ठक्करबाट गम्भीर घाइते भएका बैठालाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवामा लगिएको र उपचारको क्रममा बैठाको मृत्यु भएको  हो ।
युवा पुस्ताले चासो नदिँदा आरन व्यवसाय गाउँघरबाटै हराउँदै बागलुङ। निसीखोला गाउँपालिका–४ झिवाखोला बजार छेउमा पुरानो जस्तापाताले बारेको एउटा सानो छाप्रो देखिन्छ । त्यही छाप्रोमा दैनिकजसो भेटिन्छन् ६४ वर्षीय हिरामान सुनार। अनुहारभरि कालोमोसो लत्पतिएको । एक हातले घन र अर्को हातले पङ्खा घुमाइरहेको भेटिने हिरामान फलामबाट बन्ने सामान बनाउँछन्। आरनमै दिन बिताउने सुनारले हँसिया, बञ्चरो, खुकुरीलगायतका सामान बनाउँछन्। आफ्नो बुवाबाट फलामका सामग्री बनाउन सिकेका उनले आरन व्यवसाय सञ्चालन गरेको ४६ वर्ष भयो । पुख्र्यौली आरन व्यवसायबाटै उनको परिवार अहिलेसम्म जसोतासो चल्दै आएको छ । उनले लामो समय बालीघरेरूपमा कामसमेत गरे। बालीघरे बनेर काम गर्दा निकै दुःख खेप्नुपरेको नमीठो अनुभव पनि हिरामानसँग छ । खासगरी विश्वकर्मा जातिमा प्रचलित आरन व्यवसाय पछिल्लो समय संकटमा पर्न थालेको छ । पछिल्लो समय फलामका सामग्री बनाउने आरन व्यवसाय गाउँघरबाटै हराउँदै गएको छ । परम्परागत घरेलु हस्तकलाका सामग्रीको प्रयोग कम हुनुका साथै मेहनतले उचित सम्मान र मूल्य नपाउँदा पनि यो पेसा विस्तारै लोप हुँदै गएको आरन व्यवसायी बताउँछन् । पुख्र्यौली पेसालाई आधुनिक ढङ्गले व्यावसायिकरूपमा अघि बढाउन सके स्थानीय स्रोत, साधनको प्रयोगबाटै गाउँघरमै रोजगारी सिर्जना हुनसक्ने र आयस्तर पनि बढ्नसक्ने थियो । अहिलेका युवाले यो पेसाप्रति चासो नदिँदा हराउँदै गएको हिरामान बताउँछन्। पहिले–पहिले गाउँसँगै बजारमा पनि आरन व्यवसाय व्यापक मात्रामा सञ्चालन हुने गरेकामा अहिले निकै कम भएको उनको भनाइ छ । उनले आफूले दुई दशक बढी बालीघरेका रूपमा कामसमेत गरेको सुनाए। बालीघरे भएर काम गर्दा आफूले धेरै समस्या भोग्नुपरेको हिरामानले बताए। अहिले आरन व्यवसायका लागि चाहिने गोलको पनि अभाव हुँदै गएको उनको भनाइ छ । हिरामान भन्छन्, “यो पेसा हाम्रो पुर्खादेखि गरिँदै आएको हो, आरन व्यवसाय गर्ने कला अरु जातिमा हुँदैन, मैले सानै उमेरदेखि बाउ र बाजेले काम गरेको देखेर सिकेको हुँ, अहिलेका पुस्ताले सिक्दैनन्, पुख्र्यौली पेसा सिकेर खेर जाँदैन, खटिन सके यसैबाट पनि कमाउन सकिन्छ, म यसै व्यवसायमा छु, धेरै सम्पत्ति कमाउन सकिएन तर मलाई यही पेसाले जीवन चलाउन सघाएको छ, खुसी छु, तर यो पेसा हराउँदै जाँदा दुःख लागेको छ ।” बजारमा थुप्रै ‘रेडिमेड’ फलामका सामग्री पाइन थालेपछि गाउँघरकै आरनमा बनाइएका फलामका सामग्रीको प्रयोग घट्न थालेको छ । अहिले गाउँघरमा बालीघरे प्रथा नरहेको उनको भनाइ छ । उनले भने, “बालीघरे भएर काम गर्दा साहुले जतिबेला काम लगाउँथे उतिबेला गर्नुपथ्र्यो, एक वर्षभरि काम गरेर एक पाथी धान, एक पाथी गहुँ र एक डोको मकै दिइन्थ्यो, वर्ष दिन काम लगाएर बाली दिने बेला निकै कचकच गर्ने र पूरा बाली नदिँदा म निकै मर्कामा परेको थिएँ, अहिले त्यसरी काम गर्न छाडेँ ।” उनका छोरा देवीरामले आफू सानै उमेरदेखि विदेश जान थालेको हुँदा आरन व्यवसायतिर ध्यान नगएको बताए। आरन व्यवसाय झन्झटिलो र थोरै कमाइ हुने हुँदा आफूले यो पेसा नअँगालेको उनको भनाइ छ । यो काम गर्न हातमा सीप र धेरै समय लगाउनुपर्ने देवीराम बताउँछन्। आफ्ना पुस्ताका युवाले यो काम गर्नतर्फ ध्यान नदिएको उनले बताए। “बाउबाजेले यो पेसालाई निकै इमान्दार भएर सम्हाल्नुभयो, हामीहरू लागेनौँ, आरन व्यवसायमा धेरै पैसा छैन, विदेश गयो भने यहाँ कमाउने भन्दा धेरै कमाउन सकिन्छ”, उनले भने, “आरन व्यवसाय अलिकति झन्झटिलो पनि छ, एउटै सामान बनाउन धेरै समय लाग्छ, पैसा कम हुन्छ, सम्मान पनि छैन यो पेसामा, हामी त सानैदेखि विदेश लाग्यौँ, यो पेसातिर ध्यान गएन ।” स्थानीय टीकाराम विकले एक दशक अगाडिसम्म एउटै गाउँमा तीन-चारवटा आरन व्यवसाय हुने गरेकामा अहिले एउटा पनि भेट्टाउन नसकिने बताए। उनले गाउँमा चाहिने कोदालो, फाली, हँसिया, दराँती, बञ्चरोलगायत फलामका भाँडा बनाउन बजारमै झर्नुपर्ने अवस्था आएको सुनाए। अहिले पहिलेको जस्तो झन्झटिलो नभएको उनको भनाइ छ । उनी भन्छन्, “पहिले–पहिले गाउँघरमै आरन हुन्थे, केही सामान बनाउन परे नजिकै बनाउन सकिन्थ्यो, अहिले त खेतबारी जोत्नुप¥यो फाली ल्याउन बजारै पुग्नुपर्छ, बजारमा आएका सामान पनि यहाँ बनेका होइनन्, कहाँबाट बनेर आएका हुन्, ती सामान सबै नक्कली हुँदा रै’छन्, धेरै टिकाउनै हुँदैनन्, पहिले गाउँमा बनाएका भाँडा वर्षौँसम्म टिकाउ हुन्थे ।”
खैरो हेरोइनसहित कैलालीबाट एक जना पक्राउ धनगढी। कैलालीबाट प्रहरीले खैरो हेरोइनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। बिहीबार साढे ९ बजे राति  जोशीपुर गाउँपालिका-७ वस्ने २१ वर्षीय अमृत चौधरीलाई शंकास्पद रूपमा हिँडिरहेका बेला प्रहरीले नियन्त्रणमा लिएको थियो। लम्कीचुहा नगरपालिका-३ ब्यवस्थितनगरस्थित इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको टोलीले चौधरीलाई खानतलासी गर्दा जिन्सको हाप पाइन्टको बाँया खल्तिबाट ३ ग्राम ३ सय ४० मिलि ग्राम खैरो हेरोइन फेला पारेको हो। उनलाई पक्राउ गरेर थप अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।
कञ्चनपुरका सशस्त्र प्रहरी सिमा सुरक्षा प्रमुखमाथि खुकुरी प्रहार कञ्चनपुर। सशस्त्र प्रहरीका बोर्डर आउट पोष्ट (बीओपी) का प्रमुखमाथि खुकुरी प्रहार भएको छ । दोधारा चाँदनी नगरपालिका–७ कञ्चन भोजमा बीओपी का प्रमुख सशस्त्र प्रहरी नायब निरीक्षक नरेन्द्र चैंसिरमाथि खुकुरी प्रहार भएको हो । गत शुक्रवार राती होहल्ला गरेपछि सम्झाउन गएका सई चौंसिर माथी खुकुरी प्रहार गरिएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक एवम प्रवक्ता प्रकाश डाँगीका अनुसार शुक्रबार राती १० बजेको समयमा बिओपी प्रमुख माथी खुकुरी प्रहार भएको हो ।  सो खुकुरी प्रहारवाट उनको बाया पाखुरामा चोट लागेको छ । खुकरी प्रहार गरी फरार रहेकाहरुको अहिले खोजी कार्य जारी राखिएको छ ।
डिभीको नतिजा आज राति आउँदै काठमाडौं। अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (डिभी) को रिजल्ट आज राति आउँदै छ। अमेरिकी प्रशासनका अनुसार मे ६ अर्थात आज राती ९ः४५ मा रिजल्ट सार्वजनिक हुन लागेको हो। डिभीको नतिजा https://www.dvlottery.state.gov/ मा हेर्न सकिने छ । यसअघि डिभी भर्दा आएको कम्फर्मेसन कोड नम्बरका आधारमा अमेरिकामा जाने चिट्ठा पर्‍याे कि परेन भन्ने थाहा हुने अमेरिकन डिभी शाखाले जानकारी दिएको छ। डिभीका लागि छनोटमा परे नपरेको थाहा पाउनका सबन्धित वेभसाइटमा गएर आफ्नो कन्फर्मेशन नम्बर राख्नु पर्दछ। त्यसबाट डिभी परे नपरेको थाहा हुन्छ।
आजको मौसम: देशका पहाडी भू-भागमा पानी पर्ने संभावना काठमाडौं। हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य बदली रहेको छ । दिउँसो सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। राति सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। कोशी प्रदेश, गण्डकी प्रदेश कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।
ढिस्कोले पुरिएर चारको मृत्यु मङ्गलबारे । इलाममा ढिस्कोले पुरिएर चार जनाको मृत्यु भएको छ । इलामको सूर्योदय नगरपालिका–१० फिक्कलमा ढिस्कोले पुरिएर चार जनाको मृत्यु भएको हो । स्थानीय विनोद श्रेष्ठको घडेरी खार्ने क्रममा ढिस्कोले पुरिएर बेपत्ता भएका भारतीय कामदारको मृत्यु भएको । जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले चारैजनाको ढिस्कोले पुरेर मृत्यु भएको जानकारी दिए । उनका अनुसार सूर्योदय नगरपालिका १० फिक्कलको छिपिटार जोडिने रिङरोड क्षेत्रमा घर बनाउने क्रममा माथिबाट आएको ढिस्कोले उनीहरुलाई पुरेको थियो । मृत्यु हुनेमा १८ देखि २० वर्ष उमेर समूहका बिहार बस्ने किसानगञ्जका तोसिव आलम, सोही ठाउँ बस्ने अजि मोदिन, मुजाफर आलम र अब्दुल आलम रहेको बताइएको छ ।
६४ वर्षदेखि भेडापालनमा, थाहा छैन कृषक अनुदान ढोरपाटन। तमानखोला गाउँपालिका–५ खुङ्खानीका रनबहादुर सिर्पाली उमेरले सात दशक पार गरे । उमेर घर्कँदै गए पनि उहाँमा काम गर्ने जोस जागर भने तन्नेरीको भन्दा कम छैन । बिहान उठेदेखि राति नसुतुन्जेलसम्म भेडाबाख्राको स्याहार सुसारमा लाग्ने सिर्पालीका दुई सय ५० बढी भेडाबाख्रा छन् । जाडो बढेपछि मङ्सिरमा बेसी झरेका सिर्पाली गर्मी याम सुरु भएपछि भेडाबाख्रा लिएर बुकी चढ्न थालेका छन् । सिपार्ली आफ्ना भाइ देवबहादुर सिर्पालीसँग बुकी चढ्ने तयारीमा छन्। देवबहादुरका डेढ सय र रनबहादुरका साढे दुई सय गरी चार सय भेडा बुकी लैजाने तयारी छ । तमानखोला गाउँपालिकाको केन्द्र बोङ्गादोभानदेखि नर्जाखानी जाने सडक उनीहरुको भेडाले ढाकिएका छन् । ठूलो भेडाको बथानमा केही काला र केही खैरो रङ्गका भेडा देखिन्छन् । यस क्षेत्रका अधिकांश स्थानीय पशुपालनमै निर्भर छन् । ७१ वर्षीय रनबहादुर भेडापालनमा लागेको ६४ वर्ष भयो । सात वर्षदेखि भेडा गोठालो गर्दै आएका सिर्पालीको यात्रा अहिले पनि नडगमगाई निरन्तर चलिरहेको छ । बाउबाजेको पेसालाई अँगाल्दै आएका रनबहादुर नयाँ पुस्ता भेडापालनमा नलाग्दा परम्परागत पेसा हराउना थालेको प्रति चिन्तित छन्। भाइ देवबहादुर पनि सानै उमेरदेखि यही पेसामा आबद्ध हुँदै आएका छन्। ६० वर्षीय देवबहादुर भेडापालनमा लागेको ५२ वर्ष भयो । आठ वर्षकै उमेरदेखि भेडा चराउन सुरु गर्नु भएको सिर्पाली अहिले दाइसँग सहकार्य गर्दै आएका छन् । उनीहरुले भेडा हुलमूलमा हराउने डरले सिङमा रातो, हरियो लगायतका रङ लगाइ दिएका छन्। भेडापालन पुख्र्यौली पेसा भएको हुँदा यसको संरक्षण गर्नुपर्ने रनबहादुरको भनाइ छ । उनले आफ्ना पालामा अहिलेको जस्तो पढ्नेलेख्ने जमाना नभएको भन्दै जान्ने बुझ्ने भएदेखि नै गाईभैँसी र भेडाबाख्रा पाल्न थालेको बताए । रनबहादुरले समय परिवर्तनसँगै गाउँघरमा पेसा पनि फेरिदै गएको बताए । आफ्ना बाउबाजेले कृषि र पशुपालन गर्न सिकाएको स्मरण गर्दै अहिलेका अभिभावकले पढ्न लेख्न र विदेश जान सिकाउने गरेको उनको भनाइ छ । “पहिलेपहिले एकै जनाको दुई÷तीन हजार भेडा हुन्थे, अहिले त भेडा पाल्ने मान्छे घट्दै गए, थोरैले मात्रै पाल्छन्, हामीको जन्मनै भेडी गोठमा भयो, गोठमै जन्मेको, गोठमै हुर्केको हुँदा हाम्रो पेसा भेडा पाल्ने भयो”, रनबहादुर भन्छन्, “हामीहरुले अरु केही गर्न जानिएन, जानेको यही पशुचौपायाको गोठाला गर्न हो, दुःख पाउनेको कोखमा जन्म भयो, दुःख पाउने पेसानै गर्नुप¥यो, सहज बजार त हाम्रो लागि बिरानो लाग्छ, दुःख भए पनि गोठनै रमाइलो हुन्छ ।” पछिल्लो समय युवा पुस्ताले यो पेसा अँगाल्न नचाहँदा परम्परागत भेडापालन विस्तारै हराउँदै गएको छ । केही समय अगाडिसम्म बागलुङको उच्च पहाडी क्षेत्रमा भेडा गोठालो र भेडा प्रशस्त मात्रामा भेट्याउन सकिन्थ्यो । पहिले पहिले भेडीगोठ जाँदा धेरै जिल्लाका धेरै ठाउँका भेडी गोठालेको जमघट हुने गरेको तर पछिल्लो समय गोठाले कम भएको रनबहादुर बताउँछन् । भेडापालनबाटै परिवार चलाउँदै आएको देवबहादुरले बताए । उनले पाँच भाइबहिनी छोराछोरी यही पेसाबाटै हुर्काउने र पढाउने गरेको बताए । तीन छोरा र दुई छोरीको विवाहसमेत भेडा बेचेरै गरेको उनको भनाइ छ । आफूहरुले अहिलेसम्म भेडापालन गर्दै आए पनि छोराछोरीले यसतर्फ चासो नै नदिएको देवबहादुर बताउँछन् । बुढापाकाले भेडापाल्न नसक्ने अवस्थामा पुगेको भन्दै अबको एक दशकमा वनपाखा सुनसान हुने उनको भनाइ छ । देवबहादुर भन्छन्, “भेडा चराउन निकै टाढाटाढा पुग्नुपर्छ, हिमालको काखदेखि अग्लो पहाडका टाकुरासम्म पुग्ने गर्छौँ, केही वर्ष अगाडिसम्म भेडा लगेरमाथि बुकी तिर जाँदा हामी जस्तै धेरै भेडा गोठालाको भेट हुन्थ्यो, अहिले त निकै कम भएको छ, बुढाहरु मरे होलान्, अहिलेका युवा तन्नेरीले यस्तो काम गर्दैनन्, यही हिसाबले त हामी मरेपछि त भेडा पनि पाल्न छोड्छन् होला, पढ्ने लेख्ने मान्छेले भेडा पाल्न गाह्रो मान्छन् ।” भेडाको सुरक्षाका लागि उनीहरुले तीन कुकुरसमेत पालेका छन्। उनीहरु जता जान्छन्, भेडा र कुकुर पनि र उतै लैजाने गर्छन् । अबको एक सातामा बुकी पुग्ने देवबहादुरको भनाइ छ । उनीहरुले अहिले नर्जाखोलाको छेउमा सानो त्रिपालको छाप्रो बनाएर बस्दै आएका छन्। उनी राति सुत्ने बेला पनि भेडा उहाँहरुकै छेउछाउमा बस्ने गर्छन् । भेडाको बथानमा केही ठूला, केही साना र भर्खर सुत्केरी भएका बाख्रासमेत छन् । सरकारले कृषकलाई अनुदानसमेत दिने गरेको छ । टाठाबाठा कृषकले अनुदान लिने गरेका छन् । देवबहादुर र रनबहादुर जस्ता दुर्गम ठाउँका कृषकलाई अनुदान भनेको थाहा नै छैन । उनीहरुलाई सरकारले सहयोग गर्छ भन्दा अनौठो मान्छन् । तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले भेडापालक कृषकलाई गाउँपालिकाले करको दायरामा लिएर सेवा सुविधा दिन थालेको बताए । उनले तमानखोलामा धेरै पशुपालक कृषक रहेको भन्दै उनीहरुलाई पालिकाबाट प्रदान हुने कुनै पनि सुविधाबाट वञ्चित नगराएको बताए । “पशुपालनका लागि तमानखोला उर्बर मानिन्छ, यहाँ घना जङ्गल र भुई घाँसका लागि प्रशस्त ठाउँ छन्, परापूर्वकदेखि नै यहाँका स्थानीयले भेडापालन गर्ने र आफ्नो जीविकोपार्जन गर्दै आएको हुँदा अहिले पनि त्यो पेसा कायमै छ, बुढापाकाले निरन्तरता दिँदै आउनु भएको छ,” अध्यक्ष बुढा मगरले भने– “उहाँहरुलाई पाल, लाइट र आवश्यक सामग्रीहरु दिँदै आएका छौँ, परम्परागत रुपमा गर्दै आएकोमा अब आधुनिक प्रबिधिसँग जोड्ने प्रयास पनि भइ रहेको छ ।”
काठमाडौंलाई सिसीटिभी चेक प्वाइन्ट बनाउने तयारी काठमाडौं। सिसीटिभी चेक प्वाइन्ट बनाउने तयारी अनुसार काठमाडौँ महानगरका विभिन्न स्थानमा सिसिटिभी जडान गरिने भएको छ । काठमाडौँ महानगरले दिने बजेटबाट काठमाडौँका विभिन्न स्थानमा एक सय ६० वटा सिसीटिभी जडान गर्न लागिएको प्रहरीले जनाएको छ । काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी र उपत्यका प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीबीच यही वैशाख ७ गते सिसीटिभी जडान गर्ने सम्झौता भएअनुसार महानगरपालिकाले क्लोज सर्किट टेलिभिजन (सिसीटिभी) क्यामेरा जडान गर्न रु छ करोड उपलब्ध गराउने भएको छ । काठमाडौँलाई ‘सिसीटिभी चेक प्वाइन्ट’ बनाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । अपराध गरेर भाग्ने आरोपी (अपराधी) जताबाट पनि सिसीटिभीको चेक प्वाइन्टमा पुग्ने गरी सिसीटिभी जडान गर्ने महानगरको योजना छ । काठमाडौँमा पाँच वटा चेक प्वाइन्ट बनाउने र चेक प्वाइन्टमा राति पनि खिच्ने नाइट मोड भएका क्यामरा जडान गर्ने तयारी भइरहेको उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिए। उनका अनुसार काठमाडौँ उपत्यकाभर दुई सय ४२ वटा ‘सिसिटिभी चेक प्वाइन्ट’ राख्नुपर्ने प्रहरीको प्रक्षेपण छ। बुढानीलकण्ठ नगरपालिकाले पनि सो नगरपालिका क्षेत्रभित्र सिसीटिभी जडान गर्न प्रहरीलाई रु पाँच करोड उलपब्ध गराउने निर्णय गरेको छ । बुढानीलकण्ठ नगरपालिका क्षेत्रभित्र पनि एक सय ४५ वटा सिसीटिभी जडान गर्नका लागि काम अघि बढेको प्रहरीले जनाएको छ।
इलाममा घरको जग खन्ने क्रममा ढिस्कोले पुरिएर चार जनाको मृत्यु इलाम। इलामको सूर्योदय नगरपालिका-१० फिक्कल बजारनजिकै घर बनाउने क्रममा पुरिएर चार जनाको ज्यान गएको छ। आज अपराह्न ४ः४५ बजेतिर घरको जग खन्दै गर्दा खसेको ढिस्कोले पुरिएका चार जनाको घटनास्थलमै मृत्यु भएको हो। मृत्यु हुने सबै भारतीय नागरिक रहेका छन्। मृत्यु हुनेमा बिहार राज्य किसनगञ्ज जिल्ला डिगलबैंक निवासी वर्ष १८ का अलिम महिम अली, तोसिब आलम, मोहम्मद अब्दुल आलम र वर्ष १९ का मैजफर आलम रहेको प्रहरीको भनाइ छ। स्थानीय विनोद श्रेष्ठको घरको जग खन्ने क्रममा पहिरो खसैझैँ ढिस्को खस्दा उनीहरू पुरिएको इलाका प्रहरी पशुपतिनगरका प्रहरी निरिक्षक सन्तोष राईले बताए। जग खन्ने क्रममा अन्य ३ जनाले भागेर ज्यान जोगाएका थिए।
कञ्चनपुरमा करेन्ट लागेर ट्रक चालकको मृत्यु कञ्चनपुर । कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको भीमदत्त नगरपालिका–९ खल्लामसेट्टीमा करेन्ट लागेर एक जना ट्रक चालकको मृत्यु भएको हो । नेपालगञ्जबाट तार–जाली बोकेर आएको भे १ ख ३९५३ नम्बरको ट्रकले शुक्रबार बिहान बिजुलीको मेन लाइन छुँदा ३२ वर्षीय चालक खुमबहादुर रोक्काको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको महाकाली प्रादेशिक अस्पतालमा उपचारकाक्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयय कञ्चनपुरले बताएको छ ।
गोप्य अंगमा लुकाएर ल्याएको अवस्थामा ब्राउन सुगरसहित दिदीबहिनी पक्राउ झापा। झापा भद्रपुर विमानस्थलबाट दुई दिदीबहिनी महिला लागुऔषधसहित पक्राउ परेका छन्। बुद्ध एयरको जहाजबाट काठमाडौं जान लागेका मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१ कि घर भई हाल झापाको मेचीनगर बस्ने २१ वर्षीया सोनी श्रेष्ठ राजवंशी र उनकी दिदी २३ वर्षीया सन्ध्या श्रेष्ठलाई ७६ ग्राम ३४० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको झापा प्रहरीले जनाएको छ। विमानस्थलमा खटिएका प्रहरीको टोलीले चेकजाँच गर्ने क्रममा उनीहरुलाई गोप्य अंगमा प्याडको आकार बनाएर सो परिमाणको लागुऔषधसहित पक्राउ गरेको हो।
हेलिकोप्टर दुर्घटना अपडेटः एक जनाको मृत्यु खाँदबारी। सङ्खुवासभाको भोटखोला–४ मा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा एकको मृत्यु भएको छ । दुर्घटनामा परी स्थानीय भविन गुरुङको मृत्यु भएको डिएसपी वीरेन्द्र गोदारले जानकारी दिए । हेलिकोप्टरमा सवार चारजना गम्भीर घाइते भएको उनले बताए। आज दिउँसो १ः१० बजे भोटखोला गाउँपालिका–४ हटियाको सिक्प्रुङको हम्मरेडाँडामा रुखमा ठोक्किएर हेलिकोप्टर दुर्घटना भएको प्रहरीको भनाइ छ । मृतक गुरुङ हेलिकोप्टरमा सहयोगीका रुपमा काम गर्दै आएका थिए। दुर्घटनामा परी क्याप्टेन सुरेन्द्र पौडेल, को–पाइलट छिरिङ भोटे, अर्का सहयोगी मनोज थापा र नेपाल विद्युत् प्राधिकरणका कर्मचारी विक्रम शङ्कर गम्भीर घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि काठमाडौँ पठाइएको छ । सुजन बज्राचार्य\रासस
हेलिकोप्टर दुर्घटना : घाइतेहरूलाई उपचारका लागि काठमाडौं ल्याइयो काठमाडौं । संखुवासभामा शुक्रबार भएको हेलिकप्टर दुर्घटनाका घाइतेलाई उपचारका लागि काठमाडौं ल्याइएको छ । अरुण तेस्रोको सामान लिएर गएको सिम्रिक एयरको हेलिकप्टर शुक्रबार दुर्घटना हुँदा घाइते भएका क्याप्टेन सुरेन्द्र पौडेल र भविन्द्र गुरुङलाई उपचारका लागि काठमाडौँ ल्याइएको छ । पौडेललाई सिम्रिकको हेलिकोप्टरबाट र गुरुङलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौंका ल्याइएको हो ।
मोटर चढ्ने गुर्जालीको धोको कहिले पूरा होला ? बेनी। धवलागिरि गाउँपालिका–१ गुर्जाका ८३ वर्षीय खिमबहादुर छन्त्याललाई गाउँबाटै मोटर चढेर सदरमुकाम पुग्ने धोको छ। जीवनका आरोह अवरोध संघर्षपूर्ण तवरले बिताएका उनी युवावस्थामा देश तथा विदेशमा समेत पुगे। विदेशको विकासको समेत अनुभूति सँगालेका उनले आफ्नै गाउँमा समेत विकासका पूर्वाधार बन्न थालेपछि गाउँबाटै मोटर चढेर सहर पुग्ने रहर जागेको बताए। जिल्लाको सबैभन्दा दुर्गम बस्तीका रुपमा परिचित गुर्जा जिल्लाको एक मात्रै सडक सञ्जालको पहुँच नपुगेको वडा हो। विकासमा ओझेलमा परेको सो स्थानका स्थानीयवासीमा पछिल्लो समय विकासको प्रमुख आधार मानिएको सडक सञ्जालको पहुँच निर्माण गर्ने योजना गढेको छ। यहाँबाट गाउँपालिकाको केन्द्र मुना पुग्न एक दिनको पैदलयात्रा गर्नुपर्छ। प्रौढ र युवायुवतीहरु गुर्जादेखि पैदलयात्रा गरी सहजै गाउँपालिकाको केन्द्र र जिल्ला सदरमुकाम बेनी आवत–जावत गर्न सक्ने भए पनि बालबालिका र वृद्धवृद्धाहरुलाई भने यात्रा गर्न सहज छैन। “उमेरमा त सयौँ पटक ओहोर–दोहोर गर्‍यौँ, पहिले कतै पनि सडक थिएन, हामीले पनि आशा गर्ने कुरा भएन, अहिले गाउँपालिकाको केन्द्रबाट छिमेकी गाउँ लुलाङसम्म सडक आयो भन्ने सुनेका छौँ, हाम्रै पालामा गाउँमा मोटर आउँछ कि भन्ने भरोसा थपिएको छ”, गुर्जाका वृद्ध दलबहादुर छन्त्यालले भने। यातायातको पहुँच नपुगेको कारण यहाँ खाद्यान्न ढुवानीमा खच्चड र मानिसले नै सामान बोक्दै आएका छन्। लुलाङदेखि गुर्जासम्म खच्चडमा प्रतिकिलो सामान ढुवानीको रु २० लागत पर्छ। ढुवानी बढी लाग्ने भएकाले यहाँका स्थानीय महँगीको मारमा समेत छन्। खाद्यान्न लगायतको सामग्रीहरु खच्चडमा नै ढुवानी हुने र खच्चडले बोक्न नमिल्ने रड, जस्तापाता, पाइप लगायतका सामान मानिसले बोकेर लैजाने गरेको विगत एक दशकदेखि खच्चडमा सामान ढुवानी गराउँदै आएका युवा लोकबहादुर रसाइलीले जानकारी दिए। भारी वर्षा हुने बर्खा र हिमपात हुने हिउँदका केही महिना खच्चडलाई सामान बोकाउन नमिल्ने भएकाले उक्त समयमा गाउँमा खाद्यान्न लगायतका सामान ढुवानी ठप्प हुने गर्छ। सडक नपुगेको कारण स्थानीय स्वास्थ्य संस्थामा उपचार गराउन सम्भव नहुने बिरामीहरुलाई डोको र पिठ्यूँमै बोकेर सदरमुकामको अस्पतालतर्फ लैजानुपर्ने बाध्यता रहेको स्थानीयवासी धनबहादुर छन्त्यालले बताए। “सडक नहुँदा ठूलो समस्या छ, बिरामी हुँदा पैसा जोहो गर्न सक्नेले हेलिकप्टरमार्फत अस्पताल लैजाने गर्छन्, पैसा जुटाउन नसक्नेहरु कि घरमै थला परेर बस्नुपर्छ, कि त भने बोकेरै लैजानुपर्छ”, उनले भने। एक गाउँ एक वडाका रुपमा रहेको गुर्जामा दुई सय ७० घरधुरी रहेका छन्। दलित र छन्त्याल दुई समुदायको मात्रै बसोबास रहेको गुर्जामा तत्कालीन समयमा खानी खन्ने क्रममा बसोबास रहन गएको पाइन्छ। विगतमा गाउँपालिकाको केन्द्र मुनासम्म नै पैदलयात्रा गर्दै आएका गुर्जालीलाई यो वर्ष करिब साढे एक घन्टाको पैदलयात्रा छोटिएको छ। मुनादेखि खोरिया हुँदै वडा नं २ को लमसुङ पुगेको सडक लुलाङ गाउँसम्म पुगेको छ। लुलाङदेखि गुर्जा ६ देखि ८ घन्टाको पैदलयात्राको हो। सडक सञ्जाललाई गाउँसम्म नै पुर्‍याउने हरेक गुर्जालीको सपना बनेको छ। यस वर्ष गाउँपालिकाले विनियोजन गरेको रु ४५ लाख बजेटबाट लुलाङसम्म सडकको ट्र्याक निर्माण भएको प्रमुख प्रशासकीय अधिकृत ध्रुव रिजालले जानकारी दिए। उनका अनुसार, उक्त बजेटमध्ये २० लाख बजेटबाट ट्र्याक निर्माण गरिएको हो भने अरू बजेट सडकको संरक्षणका लागि ग्याबिनजाली लगाउने, मेसिनरी पर्खाल बनाउने लगायतको क्षेत्रमा उपयोग गरिएको छ। लमसुङ गाउँको शिरमा भने पहिराको जोखिम कम गर्न एक सय २० मिटर सडक मानिसहरुले नै मेसिन नलगाईकन सडक खनेका हुन्। लमसुङदेखि लुलाङसम्म करिब दुई किलोमिटर दुई सय मिटर सडकको ट्र्याक निर्माण भएको छ। गण्डकी प्रदेश सरकारमार्फत विनियोजन भएको रु ८० लाख बजेटबाट लुलाङदेखि गुर्जातर्फ सडकको ट्र्याक निर्माण गर्न परिचालन गरिने भएको छ। नयाँ ट्र्याकलाई स्तरीय बनाउने र गुर्जालाई सडक सञ्जालले जोड्ने योजनालाई गाउँपालिकाले प्राथमिकतामा राखेको गाउँपालिकाका उपाध्यक्ष रेशम पुनले बताए। “प्रदेशबाट आएको बजेटलाई पनि तत्काल कार्यान्वयनमा लैजान्छौँ, आगामी वर्ष गाउँपालिका, प्रदेश र संघीय सरकारमार्फत समेत पर्याप्त बजेटको व्यवस्थापन गर्नतर्फ अहिलेदेखि नै प्रयास थालेका छौँ, गुर्जामा सडकको पहुँच पुर्‍याउने पालिकाको पूर्वाधार योजनाको मुख्य प्राथमिकतामा छ”, उनले भने। लुलाङदेखि गुर्जासम्म सडक सञ्जालको ट्र्याक निर्माण गर्न करिब सात करोडको बजेट अनुमान गरिएको छ। सडकको दूरी छोट्याउन सुरुङमार्गको समेत सम्भाव्यता अध्ययन गरिएको भए पनि लागत बढी लाग्ने भएपछि सडकको ट्र्याक निर्माणलाई नै जोड दिएर योजना सञ्चालन गरिएको गुर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिए। योजनाको डिपिआर तयार गर्दा लुलाङदेखि गुर्जासम्मको सडकको दूरी १६ किलोमिटर कायम हुने अनुमान छ। पहाडी भिर हुँदै करिब तीन हजार तीन सय मिटर उचाइको देउराली डाँडा भएर सडक निर्माण गर्नुपर्ने भएकाले सडक निर्माणमा लागत बढी र काम चुनौती पूर्ण मानिएको छ। लुलाङ–गुर्जा सडकलाई डोल्पाको दुनैसम्म जोड्ने गरी अघि सारिएको वडाअध्यक्ष छन्त्यालले बताए। गुर्जाबाट रुकुमको पुथाउत्तरगङ्गा गाउँपालिका हुँदै डोल्पाको दुनैसम्म सडक विस्तार गर्न सकेमा कर्णाली–लुम्बिनी–गण्डकी–बागमती प्रदेश जोड्ने छोटो दूरीको राजमार्गकै रुपमा यसलाई विकास गर्न सकिने वडाअध्यक्ष छन्त्याल बताउँछन्। “गुर्जादेखि डोल्पासम्मको दूरी जम्मा ९० किलोमिटरको रहेको छ, समग्र काठमाडौँदेखि डोल्पासम्म पाँच सय किलोमिटरभन्दा छोटो पर्छ, यो सडक निर्माण गर्दा वातावरणीय रुपमा कम क्षति र पर्यटकीय दृष्टिकोणमा समेत उच्च लाभदायी बन्न सक्छ”, उनले भने। यो योजनालाई धवलागिरि गाउँपालिकाको गाउँसभाले समेत अपनत्व लिएर संघीय र प्रदेश सरकारमा आवश्यक बजेटका लागि योजना माग गरिसकेको छ।
हेलिकोप्टर दुर्घटना अपडेटः घाइतेको उद्धार हुँदै, तीन जनाको अवस्था गम्भीर काठमाडौं। सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा घाइते भएकामध्ये तीन जनाको अवस्था गम्भीर भएको जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाका प्रशासकीय अधिकृत भोगेन्द्र श्रेष्ठले जानकारी दिए। घाइतेहरुलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको हो । नेपाली सेनाले हेलिकोप्टरसहित ११ जना जनशक्ति उद्धारका लागि घटनास्थलमा खटाइएको नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए। हेलिकोप्टरमा सवार पाँच जनामध्ये तीन जना गम्भीर घाइते र बाँकी दुई जना सामान्य घाइते भएको उनको भनाइ छ । दुर्घटना भोटखोला गाउँपालिका–४ हम्मरेडाँडामा भएको थियो । अवतरणका क्रममा हेलिकोप्टर दुर्घटनामा परेको हो । हेलिकोप्टर माथिल्लो अरुण जलविद्युत परियोजनाको सामग्री ढुवानी गरी त्यहाँ गएको थियो । हेर्नुहोस् भिडियो:
संखुवासभामा हेलिकप्टर दुर्घटना काठमाडौं। काठमाडाैं। सिम्रिक एयरको हेलिकोप्टरसंखुवासभामा दुर्घटना भएको छ। संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेका अनुसार भोटखोला गाउँपालिका सिप्रुङमा सिम्रिक एयरको हेलिकोप्टर अवतरणका क्रममा दुर्घटना भएको हो। उनले भने, “सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा परेको स्थानीयले जानकारी गराएका छन्। विस्तृत जानकारी आउन बाँकी छ। उद्धारका लागि गृह मन्त्रालयबाट हेलिकोप्टर मगाएका छौँ।” माथिल्लो अरुण जलविद्युत् परियोजनाको सामग्री ढुवानी गरेर गएको हेलिकोप्टर दुर्घटनामा परेको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार उक्त हेलिकोप्टर बिहानैदेखि सम्पर्कविहीन भएकाले खोजी भइरहेको छ। “हेलिकोप्टर तुम्लिङटार विमानस्थलसँग बिहानैदेखि सम्पर्कमा नरहेको जानकारी आएको छ”, प्रवक्ता सिटौलाले भने।
साकेला शिलीमा नाच्दै गरेका किराँत समुदाय {भिडियो} काठमाडौं। ललितपुरको हात्तीवनमा किराँतीहरुले आज धुमधामका साथ उभौली साकेला पर्व मनाएका छन्। प्रत्येक वर्ष बैशाख पुर्णिामा देखि राई, लिम्बु, याक्खा सुनुवार जातिहरूले भव्य रूपमा किराँती रितीअनुसार भूमीको पूजा गरी उभौली चाड अर्थात भूमी पूजा गरी साकेला शिलि नाच्दै १ महिना सम्म मनाउने गर्छन। उभौली पर्वको रूपमा रहेको किरातीहरूको यो महत्त्वपूर्ण चाड वसन्त ऋतुमा वालीनाली राम्रो होस् सबैमा सुख शान्ति सूस्वास्थ्य रहोस् र दैविप्रकोप तथा विपक्तिहरू नआउन् भनि पुजा गरिन्छ,यस चाडमा सुनुवार र राईहरू साकेला–सखेवा शिली नाच्छन भने लिम्बु र याख्खाहरू च्याब्रुङ नाच नाच्दै प्रकृतिलाई पुजा गर्दछन । उभौली चाडमा किरात खम्बु (राई) हरु आफ्नो जातीय पहिरन (भेषभुषा) मा सजिएर साकेला सिली नाच्छन् । कालो कोट, दौरा–सुरूवाल, बुकी फूल सिउरिएर, खुकुरी भिरेर नेपाली टोपीमा ठाँटिएर पुरुषहरू साकेला सिलीमा ताल मिलाउदै गोलबन्द भएर नाच्छन्। महिलाहरू पनि कम्मरमा पटुकी कसेर चौबन्दी चोली र छिटको फरिया अनि पहेंलपुर गरगहनामा सजिएर उनीहरूलाई शिलिको इसारा गर्दै नाच्छन् । हातमा चौरीको पुच्छर, सिल्लिमो, पोमी, लिङ्चिबुङ्को डाला, चमर र सिम्कौली सेउली लिएर नाचिन्छ । स्याउला, ढोल, झ्याम्टा, बिनायो तथा हारी छातीमा झुन्ड्याएर उनीहरू आफूलाई सजाउँछन् । गोलाकार घेरामा रहेर नाचिने साकेला शिली अहिले सबै जातीका युवायुवतीको पनि सहभागिता बढ्दो छ । किराँत समुदायमा पनि एकथरीले उँभौली पर्व उत्तरायण सुरु हुने दिन माघ १ गते नै मनाउने गर्छन् । उँधौली भने दक्षिणायन सुरु हुने दिन पारेर साउन १ गते मनाउँछन् । यस समुदायले उँभौली वैशाख शुक्ल पूर्णिमा र उँधौली पर्व मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन मनाउँछन् । यो पर्व किराँत राई समुदायको महत्त्वपूर्ण पर्व हो । हेनुहोस् भिडियो:
सशस्त्र प्रहरीको ‘एक जवान, एक बेडिङ कार्यक्रम’ काठमाडौं। सशस्त्र प्रहरी कर्मचारीहरुले अब सरुवा भएर अन्यत्र जाँदा गुन्टा बोकेर जानु नपर्ने भएको छ । सशस्त्र प्रहरी बल नेपालले ‘एक जवान एक बेडिङ’ अवधारणाअनुसार आवश्यक व्यवस्थापन गरेकाले अब आफ्नो व्यक्तिगत सामान मात्रै बोकेर गए हुने भएको जनाइएको छ । यसअघि सशस्त्र प्रहरी सरुवा भएर जाँदा आफ्नो विस्ताराका लागि प्रयोग हुने सरसामानसमेत बोकेर हिँड्नुपर्ने बाध्यता रहेको थियो । “अब त्यो बाध्यता हटेको छ, त्यसरी गुन्टा बोकेर जानुपर्ने अवस्था अन्त्य गरिएको छ, सशस्त्र प्रहरी बल नेपालका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले भने, “ससस्त्र प्रहरीका धेरै गतिविधिमा सुधार गर्दै लगिएको छ ।” उनका अनुसार एक जवान एक बेडिङको अवधारणाअनुसार ८५ प्रतिशत कर्मचारीका लागि शय्या तयार भइसकेको छ । बाँकीका लागि पनि तयारीको अवस्थामा राखिएको छ । प्रवक्ता खड्काका अनुसार सशस्त्र प्रहरीका विभिन्न ७० युनिटमा शिशु स्याहार केन्द्रसमेत स्थापना गरिएको र त्यहाँ एक सशस्त्र कर्मचारीले रेखदेख गर्ने तथा अरूभने कार्यक्षेत्रमा खटिने गरी व्यवस्था गरिएको छ । यस्तै आधारभूत आवश्यकतालाई ध्यानमा राखेर विशेष सुधारका काम पनि गरिएको उनले बताए। प्रवक्ता खड्काका अनुसार विभिन्न ६५ वटा मेसको स्तरोन्नति गरिएको छ । जनशक्तिको अनुपातमा शौचालय तथा स्नान गृहको निर्माण पनि गरिएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ । इन्डक्सन चुल्होको प्रयोग बढाउँदै लगिएको र अन्य सुधारात्मक कामलाई तीव्र गति दिइएको जनाइएको छ ।रासस
गिट्टीको थुप्रोमा टाउको भेटियो, पहिचान खुल्न सकेन बैतडी। पाँच दिन अगाडि बैतडीको पाटनमा एक व्यक्तिको टाउको भेट्टिए पनि उनको पहिचान भने खुल्न सकेको छैन। गत आइतबार सडक निर्माणका लागि पाटन नगरपालिका–६ तल्लो बजारमा ल्याएको गिट्टीको थुप्रोमा एक व्यक्तिको टाउको भेट्टिएको थियो। टाउकोलाई परीक्षणका लागि जिल्ला अस्पताल पठाइएको  । तर अझै रिपोर्ट नआएको प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए। सुर्नया गाउँपालिकाको बाचपानीबाट ल्याएको गिट्टीमा मानिसको टाउको भेटिएको थियो। उनले भने, “टाउको फेला परेपछि कसको हो भनेर पहिचान गर्न अस्पताल पठाएका छौँ। अस्पतालको रिपोर्टपछि सबै कुरा खुल्छ।” टाउकोको डिएनए परीक्षणका लागि प्रहरीको विधि विज्ञान प्रयोगशाला काठमाडौँ पठाइने प्रहरी निरीक्षक जोशीले बताए। उनले भने, “अस्पतालको रिपोर्ट आएपछि टाउकोको नमूना संकलन गर्ने र परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला पठाउँछौँ।” घट्नाबारे अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। गिट्टी ल्याइएको भनिएको बाचपानी क्षेत्रमा अनुसन्धानलाई केन्द्रित रहेको प्रहरी निरीक्षक जोशीले बताए। उनले भने, “बाचपानी वरपरका क्षेत्रका कुनै मानिस हराएका थिए कि भनेर सोधपुछ भइरहेको छ। गिट्टी ल्याएको स्थानमा शरीरको अन्य भाग पनि मिल्छ कि भनेर खोज्दै छौँ।” – रासस
पहिरोले पाल्पा–बुटवल सडक खण्ड अवरुद्ध, सयाैँ सवारी साधान अलपत्र पाल्पा । पहिरो खसेपछि पाल्पा–बुटवल सडकखण्ड अवरुद्ध भएको छ। शुक्रबार बिहानदेखि सिद्धार्थ राजमार्गको गौडेपुलको कालीमाटी क्षेत्रमा पहिरो खसेपछि सो सडक खण्ड अवरुद्ध हुन पुगेको हो। सडक डिभिजन कार्यालयले घुम्ती सुधार गरेको स्थानमा नै ठूलो पहिरो खसे पछि सयाैँ सवारी साधान अलपत्र परेका छन्। सडकमा पहिरो खसेपछि सा राजमार्ग हुँदै सुनौली, पोखरा र मुस्ताङसम्म चल्ने सवारी साधन अवरुद्ध हुन पुगेको स्थानियवासीले जनाएका छन्। त्यसमाथि  सिद्धबाबा सुरुङ मार्ग आयोजनाले राति १० बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द गरिरहेको अवस्थामा पुनः पहिरो गएपछि  सवारीसाधन सडकमा अलपत्र परेका हुन्। नेपाल प्रहरीले सडक डिभिजनसँगको समन्वयमा पहिरो पन्छाउन सुरु गरेको ट्राफिक प्रहरी प्रमुख दामोदर मल्लले जानकारी दिए।
बुद्ध पूर्णिमामा १३९ वर्षपछि देखा पर्दै उपछायाँ चन्द्रग्रहण काठमाडौं। चन्द्र ग्रहणको एउटा भौगलिक घटना मानिन्छ। यो सालको पहिलो चन्द्रग्रहण बैशाख २२ गते लाग्दैछ। यस वर्षको चन्द्रग्रहण यस अर्थमा पनि खास छ कि यो बुद्ध पूर्णिमाका दिनमा लाग्दैछ, जो १३९ वर्ष पछि लाग्न लागेको हो। यो चन्द्रग्रहण तुला राशी र स्वाती नक्षत्रमा लाग्दछ। बैशाख २२ गते राति ८ बजेर ४४ मिनेटदेखि सुरु भएर मध्यरात अर्थात करिब १ बजेर २ मिनेटसम्म रहन्छ। यो चन्द्रग्रहणको कुल अवधि ४ घन्टा पन्ध्र मिनेटको हुनेछ। चन्द्र ग्रहणको सुतक काल ९ घन्टा अगाडिबाट सुरु हुन्छ तर यो चन्द्रग्रहण नेपालबाट भने देखिने छैन, जसकाकारण यहाँ सुतककाल मानिदैन। यो उपछायाँ चन्द्रग्रहण हो, चन्द्रमामा पृथ्वीको छाया मात्र एउटा क्षेत्रमा मात्रै देखिने भएकाले सबैतिरबाट यो देखिँदैन।
आजको मौसम: कोशी र गण्डकीसहित मुलुकका पहाडी भूभागमा पानी पर्ने संभावना काठमाडौं। हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य बदली रहेको छ। दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। राति भने देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन रचट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।
आज २५६७औं बुद्ध जयन्ती, विविध कार्यक्रम गरी मनाइँदै काठमाडौं। शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६७औँ जयन्ती आज भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिएका बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ। प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ। सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरणस्वरूप यो पर्व मनाउने गरिएको हो। बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्ध जयन्ती मनाउने गर्दछन्। “अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो”, यस्ता अनेकौँ कालजयी सन्देशका वाहक भगवान् गौतम बुद्धको २५६७औँ जयन्ती शान्तिको कामना गर्दै आज देशभर मनाउन लागिएको हो। बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा एवं बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गरिन्छ। आम मानिसलाई बेलुकी घरमा दीपावली गरेर बुद्ध जयन्ती मनाउन सरकारले आह्वान गरेको छ। यस अवसरमा लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विविध कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाउने परम्परा छ। इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६७ वर्षअघि रुपन्देही जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो। राजकुमारका रूपमा जन्म लिएका सिद्धार्थ गौतम मानिसले पाएका दुःख देखेर चिन्तित बने। उनान्तीस वर्षको उमेरमा दरबार छोडी तपस्याका लागि निस्कए।
महिलाको फोटो र भिडियो तोडमोड गरी टिकटकमा चरित्रहत्या गर्ने एक जना पक्राउ काठमाडौं । सामाजिक सञ्जाल टिकटकमार्फत महिलाको चरित्र हत्या गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । चितवन प्रहरीको सहयोगमा साइबर ब्युरोको टोलीले बुधबार विजय लामा भन्ने डम्बर बहादुर तामाङलाई पक्राउ गरेको हो । उनले सामाजिक सञ्जाल टिकटकमा पीडितको फोटो र भिडिओलाई काटकुट पारी अश्लीलता सहित प्रसारण गर्ने र महिलाको चरित्रमा आँच पुर्‍याउने काम गरेको आरोप छ । सार्वजनिक नैतिकता र शिष्टाचारमा असर पार्ने गरी चरित्र हत्या गर्ने कार्यमा संलग्न रहेको भन्दै तामाङलाई पक्राउ गरिएको हो । चितवन जिल्ला राप्ती नगरपालिका वडा नम्बर ९ बस्ने २९ वर्षीय लामा विरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गतको कसूरमा बिहीबार पाँच दिनको म्याद थप भई आवश्यक अनुसन्धान कार्य भइरहेको छ ।
लागूऔषधसहित कञ्चनपुरबाट तीन युवक पक्राउ धनगढी । कञ्चनपुरबाट लागूऔषधसहित प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पुनर्वास नगरपालिकाबाट प्रहरीले लागूऔषधसहित तीन जना पक्राउ परेका हुन् । कञ्चनपुर प्रहरीका अनुसार बुधवार राति पुनर्वास नगरपालिका वडा नम्बर ५ स्थित दोदा पुल नजिकबाट प्रहरीले ६ सय मिलिग्राम खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका वडा नम्बर ६ मटियारी बस्ने २५ वर्षीय प्रकाश राना, गोदावरी नगरपालिका–९ मरकट्टीका सुवास राना र बेलौरी नगरपालिका–६ रिछाहका १८ वर्षीय सागर राना रहेका छन् । उनीहरूको साथबाट प्रदेश नं ३–०२–००१ प ११४८ नम्बरको मोटरसाइकल पनि बरामद गरिएको छ ।
विवाह हुन एक हप्ता बाँकी रहँदा भक्तपुरमा युवतीले गरिन् आत्महत्या भक्तपुर। भक्तपुरको सूर्यविनायक नगरपालिका- ७ गुण्डुुकी २४ वर्षीया सुस्मिता खड्काले आत्महत्या गरेकी छन् । २८ वैशाखमा विवाह मिति तोकिएकी खड्काले बिहीबार झुण्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएको भक्तपुर प्रहरी परिसरले जनाएको छ । काठमाडौ दक्षिणकाली नगरपालिका-८ घर भई ललितपुर महालक्ष्मी नगरपालिका ९ बस्ने  २८ वर्षीय मनोज अधिकारीसँंग  सुस्मिताको विवाह तय भइसकको थियो । तर, बिहीबार आफ्नै घरको फलामको भर्‍याङमा नाइलनको डोरीको पासो लगाई झुण्डी आत्महत्या गरेको अवस्था सुस्मितालाई भेटिएको परिसरका एसपी प्रजित केसीले जानकारी दिए । उनको साथबाट भेटिएको सुुसाइड नोटमा आफैंले आत्महत्या गरेको र पिर नगर्न भनिएको छ ।
नक्कली शरणार्थी प्रकरण : १०६ जनाले दिए २३ करोड ठगिएको उजुरी काठमाडौँ। नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौँ रकम असुली प्रकरणमा प्रहरीले हालसम्म आठ जनालाई पक्राउ गरी अनुसन्धानको दायरामा ल्याएको छ। अझै केही व्यक्तिमाथि पक्राउ पुर्जी जारी भएको र उनीहरुको खोजी भइरहेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले जानकारी दिए। उक्त मुद्दा जिल्ला प्रहरी परिसरले हेरिरहेको छ। विभिन्न जिल्लाका नागरिकबाट पैसा असुल गरेको आरोप लगाउँदै परिसरमा अहिलेसम्म १ सय ६ जनाले २० वटा उजुरी दिएका छन्। उनीहरुले कूल रु २३ करोड २५ लाख ठगी भएको उजुरी दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए। यद्यपि योभन्दा धेरै संख्यामा पीडित भएको अनुमान गरिए पनि अन्य व्यक्ति सम्पर्कमा आइनसकेको उनको भनाइ छ। हाल उजुरीमा उल्लेख भएका व्यक्तिमाथि अहिले अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ। गिरोहले वि.सं २०७७ देखि नक्कली शरणार्थी बनाइ ठगी अभियान चलाएको खुलेको छ। यस सम्बन्धमा पहिलो पटक गत जेठमा अपराध अनुसन्धान कार्यालयमा उजुरी परेको थियो। घटनामा मुख्य आरोपी मानिएका केशव दुलाल, सानु भण्डारी र टंक गुरुङ झण्डै १० महिनापछि गत चैत १२ गते पक्राउ परेका थिए। त्यसको केही दिनपछि सन्देश शर्मा पोखरेल र सागर थुलुङ पक्राउ परेका थिए। उनीहरुकै बयानका आधारमा गृहका अधिकारी र उच्च राजनीतिक नेतृत्व संलग्न भएको तथ्य बाहिर आएको अपराध अनुसन्धान कार्यालयको प्रारम्भिक अनुसन्धान प्रतिवेदनमा उल्लेख छ। घटनाको थप अनुसन्धान र कानुनी कारबाहीका लागि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जिल्ला प्रहरी परिसरलाई पक्राउ परेका आरोपीसहितको अनुसन्धान फाइल हस्तान्तरण गरेको थियो। सोही सिलसिलामा प्रहरीले वैशाख १९ गते मंगलबार तत्कालीन गृहमन्त्री रामबहादुर थापाका राजनीतिक सल्लाहकार डा इन्द्रजीत राईलाई पक्राउ गरेको थियो। प्रहरीले हिजो तत्कालीन गृहसचिव भइ हाल उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे र पूर्वऊर्जामन्त्री एवं नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई पक्राउ गरेको हो। प्रहरीले पक्राउ परेका गिरोहका समूहबाट प्रहरीले सन्दीपका नाममा काटेको चेकसमेत बरामद गरिसकेको छ। प्रहरीले अहिले पनि सचिव रायमाझी र डा. राईका छोरा नीरजमाथि पक्राउ पुर्जी जारी गरी खोजी गरिरहेको छ। नीरजले काठमाडौँका विभिन्न होटलमा पुगेर करोडौँ रकम बुझेको प्रहरी स्रोतको भनाइ छ। “अन्य केही व्यक्ति पनि अनुसन्धानको घेरामा छन्, प्रमाण जुटेपछि पक्राउ पर्छन्”, अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने। गिरोहले गृह मन्त्रालयका नाममा सरकारी लोगोसमेत प्रयोग गरी शरणार्थी परिचयपत्र तथा ट्राभल डकुमेन्टसमेत बनाएको भेटिएको छ। गिरोहले आफूसँग सम्पर्कमा आएका र चिनजानमा रहेका व्यक्तिलाई प्रयोग गरी उनीहरुका आफन्तलाई समेत शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भनि भुटानी शरणार्थीका रुपमा नाम दर्ताका लागि फारम भर्न लगाएका थिए। उनीहरुले शरणार्थी फारम भर्नेबाट रु १५ देखि २० लाख असुलेका थिए। गिरोहले गृह मन्त्रालय र शरणार्थी समितिका उच्च अधिकारीसँग सेटिङ भइरहेको सुनाएर पीडितलाई विश्वास दिलाउने गरेका थिए। विश्वासमा पारिराख्न गृह मन्त्रालय, श्रम मन्त्रालय र शरणार्थीसँग सम्बन्धित विभिन्न निकायसँग सम्बन्धित पत्र देखाउने गरेका थिए। गिरोहले पत्रपत्रिका र अनलाइनमा आएका फोटो, समाचार तथा शरणार्थी समस्या हेर्ने विभिन्न निकायका कर्मचारीको सरुवासम्बन्धी समाचार पीडित समक्ष सेयर गरी विश्वास बटुल्ने गरेको कार्यालयका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले उतिबेलै बताएका थिए। पीडितलाई कहिले शरणार्थी शिविर अनुगमन हुन लागेको भन्दै त कहिले बायोमेट्रिक गर्नुपर्ने भन्दै पथरी, बेलडाँगी, विराटनगर, सौराहा, काठमाडौँलगायत स्थानमा पटकपटक बोलाउने गरेको जाहेरीमा उल्लेख छ। उनीहरुले काम नभएमा रकम फिर्ता गरिदिन्छु भन्दै रु आठ करोड बराबरको चेक समेत दिएका थिए। उनीहरुले यसरी उठाइएको रकम संकलनका लागि विभिन्न व्यक्तिको बैंक खाता प्रयोग गर्ने गरेका पाइएको छ। – रासस
धरानबाट २२७ किलो बढी गाजाँसहित दुई व्यक्ति पक्राउ सुनसरी। सुनसरी जिल्लाको धरानबाट २ सय २७ किलो बढी गाजाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। धरान उपमहानगरपालिका १३ शिवधारास्थित कोशी राजमार्गबाट बैशाख २१ गते प्रहरीले २ सय २७ किलो ४ सय ग्राम गाजँसहित दुई जना व्यक्ति र ट्रक नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा गाडी चालक धनकुटा जिल्लाको छथर जोरपाटी गाउँपालिका ६ बस्ने ३४ बर्षिय चन्द्र थापा क्षेत्री र सहचालक तेह्रथुम जिल्लाको छथर गाउँपालिका २ बस्ने २८ बर्षिय चुडामणी कटुवाल रहेका छन्। सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश धरानले धनकुटाबाट ईटहरीतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९४८९ नम्बरको ट्रकमा ८ वटा पोकामा लैजाँदै गरेको उल्लेखित परिमाणको गाजाँसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो । उनीहरुको साथबाट ६० हजार नेपाली रुपैयाँ, ४ वटा मोवाईल सेट, बाटोको ईजाजत पत्र र सवारी दर्ता प्रमाणपत्र समेत बरामद भएको छ। नियन्त्रणमा लिइएका उनीहरुलाई ट्रक, गाजाँ र बरामद सामाग्रीसहित आवश्यक कारवाहीको लागी ईलाका प्रहरी कार्यालय धरानमा बुझाइएको छ।
काठमाडौँबाट जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ काठमाडौँ। काठमाडौँ महानगरपालिका-९ देबकोटा मार्गबाट जुवातास खेलिरहेको अवस्थामा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ। देबकोटा मार्गस्थित स्टिकर पसलमा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। विशेष सूचनाको आधारमा प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २४ हजार ७ सय रूपैयाँ  र १५ बुक ताससहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।
२५६७औँ बुद्धजयन्तीमा साताव्यापी कार्यक्रम, प्रधानमन्त्री लुम्बिनी जाने भैरहवा। लुम्बिनी विकास कोषले बिहीबार परेको २५६७औं बुद्धजयन्ती एवम् लुम्बिनी दिवस–२०८० को अवसरमा साताभरि विविध कार्यक्रमसहित मनाउने जनाएको छ।  बुद्धको जन्म, बोधिज्ञान प्राप्ति र महापरिनिर्वारणको नियोग परेको दिन वैशाख पूर्णिमाको अवसरमा कोषले विशेष महत्वका साथ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा मुल समारोह कार्यक्रम गर्न लागेको हो। दिवसको पूर्व सन्ध्यामा वैैशाख १९ गते देवदहमा देवह सूत/नारी शक्ति प्रवचन गरिएको र वैशाख २१ गते मायादेवी परिसरमा दीप प्रज्वलन तथा महापरित्राण, बुद्धपूर्णिमाका दिन पूर्णिमा पूजा पाठ, शोभा यात्रा, मुल समारोहसहित भोजनदानको कार्यक्रम रहेको लुम्बिनी विकास कोषका कोषाध्यक्ष तथा प्रचारप्रसार उपसमितिका संयोजक ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले जानकारी दिए। ‘विशेष समारोहमा लुम्बिनी विकास कोषका अध्यक्ष एवम् संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, मुख्यमन्त्री, प्रतिनिधिसभा, प्रदेशसभा सदस्यहरु, स्थानीय सरकार प्रमुखसहित उच्चस्तरीय पदाधिकारी, कुटनीतिक नियोग, विदेशी पाहुनाहरुकोसमेत सहभागीता रहने छ,’ भट्टराईले भने। प्रधानमन्त्री प्रचण्डको सम्बोधन पश्चात सांस्कृतिक संस्थानका कलाकारहरुले पटाचारा नामक नाटक प्रदर्शन र स्थानीय कलाकारहरुबाट भेषभूषामा सास्कृतिक कार्यक्रम, वैशाख २२ गते पण्डितपुरदेखि रामग्राम अस्थिधातु यात्रा र वैशाख २३ गते लुम्बिनीबाट कपिलवस्तुसम्म बोधिसत्व सिद्धार्थको शोभा यात्रासँगै तिलौराकोटमा विशेष समारोह गर्ने उनले बताए। त्यस्तै रामग्राम र देवदह नगरपालिका र लुम्बिनी विकास कोषका संयुक्त आयोजनामा २२ वैशाखमा देवदहको भवानीपुर, बडिमाई, कन्यामाई जस्ता पवित्रस्थलहरुमा शान्तिदीप प्रज्वलन कार्यक्रम नगरप्रमुख, उपप्रमुख तथा वडाअध्यक्षहरुको अगुवाइमा कार्यक्रम हुनेछ। यस वर्षदेखि भगवान बुद्धको महत्व दर्शाउनका लागि रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका, देवदह नगरपालिका, नवलपरासीको रामग्राम नगरपालिका र कपिलवस्तुको कपिलवस्तु नगरपालिकासहित वृहत्तर लुम्बिनी क्षेत्रका बासिन्दाहरुलाई बुद्धजउन्तीको अवसरमा दीप प्रज्ज्वलन गर्न अपील गर्दछौैं, ’उनले भने। लुम्बिनी विकास कोषले २५६७औं बुद्ध जयन्ती मनाउन १ करोड रुपैयाँ बजेट छुट्टाएको छ। दिवसको अवसरमा ‘क्लिन लुम्बिनी, ग्रिन लुम्बिनी’ भन्ने नारासहित लुम्बिनी सरसफाई अभियान सुरुवात गरिएको कोषाध्यक्ष भट्टराईले जानकारी दिए। लुम्बिनी विश्वभरका बौद्धमार्गीहरुको आस्थाको केन्द्रसमेत भएकाले यसलाई सफा र स्वच्छ राख्ने दायित्व पर्यटकदेखि यहाँको स्थानीय र होटल व्यवसायीसमेतको हो भन्ने भावना जागृत गराउन अभियानको सुरुवात गरिएको उनले बताए। वैशाख ९ गतेबाट यो अभियान सुरु भएको र जारी रहने उनले बताए। बुद्ध पूर्णिमाको अवसरमा लुम्बिनी परिसरभित्र चल्ने कुनै पनि सवारीसाधनहरुले हर्न निषेध गर्ने निर्णय भएको छ। यसाले शान्ति क्षेत्र लुम्बिनी शान्तिपूर्ण वातावरण कायम गर्न ठूलो मद्दत पुग्ने अपेक्षा गरिएको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए। समग्रमा तयारी अन्तिम चरणमा छ। विशेष समारोह भव्यताका साथ सफल बनाउनका लागि मूल आयोजक समिति, त्यस अन्तर्गत मूल ब्यवस्थापन समिति र विभिन्न उप–समितिहरु गठन गरिएको शाक्यले बताए।
वर्षाले रुझेको असन बजार {फोटो फिचर} काठमाडौं। काठमाडौंको व्यस्त बजार असन बजार, इन्द्रचोकमा वर्षाका कारण मानिसहरुलाई किनमेल गर्न निकै असहज भइरहेको छ। आफ्नो अत्यावश्यक समाग्री किनमेला गर्न मानिसहरु छाताको साहार लिएर निस्किएका छन्। केही दिनदेखिको निरन्तर परेको वर्षाले काठमाडौंको जनजिवन प्रभावित भएको छ। व्यवसाय गर्ने होस् या जागिर गर्ने नै किन नहोस् वर्षाका कारण घर बाहिर निस्कन निकै गाह्रो भइरहेको छ। पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभावले बदली र वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज पनि काठमाडौंमा निरन्तर वर्षा भइरहेको छ।
गुच्चीच्याउ आम्दानीको स्रोत बन्दै मुगु। सोरु गाउँपालिका–४ फोतुकी रामदेवी शाहीलाई अहिले गुच्चीच्याउ टिप्न भ्याइनभ्याइ छ। उनी बिहान सबेरै नजिकका सामुदायिक वनमा पुगेर साँझअबेर मात्र घर फर्किन्छिन्। हिमपात र वर्षा धेरै भएकाले यसपाली गुच्चीच्याउको उत्पादन राम्रो भएको जनाउँदै उनी दिनभरी गुच्चीच्याउ टिप्न व्यस्त छिन्। गतवर्ष च्याउ टिपेर रु २५ हजार कमाएकी उनलाई यस वर्ष झन् बढी पैसा कमाउने धोको छ। ताजागाउँकी बेलसरा बुढाले पनि वनजंगलमा बाख्रा चराउँदै गुच्चीच्याउ संकलन गर्ने गरेका छन्। गतवर्ष च्याउ बेचेर उनले रु ४० हजार कमाएकी थिइन् । जिल्लाका ग्रामीण भेगका बासिन्दालाई अहिले गुच्चीच्याउ टिप्ने चटारो छ। जिल्लामा बर्सेनि चैतको पहिलो सातादेखि गुच्चीच्याउ टिप्ने ‘सिजन’ सुरुआत हुन्छ। विपन्नको मुख्य आयस्रोतका रूपमा चिनिने च्याउले बर्सेनि राम्रो मूल्य पाउन थालेको छ। यस वर्ष भारी हिमपात र अधिक वर्षा भएकाले गुच्चीच्याउको राम्रो उत्पादन भएको स्थानीयवासीको आशा छ। “जंगलमा च्याउ टिप्दैमा दिन बित्ने गरेको छ,’ उनले भनिन्, “च्याउ नटिपे वर्षभरिको खर्च धान्न मुस्किल हुन्छ, त्यसैले वनजङ्गलको च्याउलाई मुख्य आयआर्जनको स्रोत बनाएका छौंँ।” च्याउ टिप्न बिहानै वनजंगलमा जानुपर्ने र साँझ मात्र घर फर्किने भएकाले पहिले नै खानपिनको व्यवस्था गर्नुपर्ने उनले बताइन्। स्थानीय बजारमा गुच्चीच्याउको मूल्य प्रतिकिलो रु १४ हजारदेखि १७ हजारसम्म पर्ने स्थानीयवासीको भनाइ छ। केही व्यापारीले प्रतिगोटा सात रुपैयाँमा च्याउकिन्ने गरेका छन्। जिल्लाको खत्याड, सोरु, मुगुमकार्मारोङ गाउँपालिका र छायानाथ रारा नगरपालिकाका अधिकांश जंगलमा गुच्चीच्याउ पाइन्छ छ। बेँसीतिर उम्रिने गुच्चीच्याउ पहेँलो आकारको हुने र लेकमा उम्रने च्याउ कालो आकारको हुने सोरु गाउँपालिकाकच्चेका कलबहादुर कार्कीले बताए। उनका अनुसार च्याउ टिप्ने समयमा गाउँमा ज्येष्ठ नागरिक र अशक्तमात्र घरमा बस्छन्। बालबालिकासमेत पढाइ छाडेर गुच्चीच्याउ टिप्न जाने गरेका छन् र च्याउको सिजनका बेलागाउँबस्ती सुनसान हुने गरेको छ। निगालो, पीपल, उन्युँ बढी भएको जंगलमा गुच्चीच्याउ बढी उम्रिने गरेको छ। उनका अनुसार उम्रेको दुई सातासम्म टिप्न नसके कुहिने, वन्यजन्तु र चराले खाने समस्या छ। सोरु गाउँपालिकाको रुम, रारा गिलाहा, धैनकोट, कालै, फोतु नेर, नार्थपु, खत्याड गाउँपालिकाको खमाले, गम्था, निगालबोट तथा मुगुमकार्मारोङ गाउँपालिकाको चितै, माग्री, पापु गाउँकाजंगलमा च्याउ बढी पाइन्छ। जिल्लामा उत्पादित गुच्चीच्याउ नेपालगञ्ज, काठमाडौँं र तिब्बत्सम्म जाने गरेको नेपाल जडीबुटी व्यवसायी संगका अध्यक्ष मेलबहादुर शाहीले बताए। उनका अनुसार व्यवसायीले गाउँमै पुगेर च्याउ संकलन गर्छन्। उनले जिल्लामा करिब २० क्विन्टल बढी गुच्चीच्याउ पाइने गरेको बताए। सोरु गाउँपालिकाको वन क्षेत्रमा संकलन हुने च्याउव्यापारीले हुम्लाको हिल्सा नाकाहुँदै तिब्बती बजारमा पुर्‍याउने गरेका छन्। गुच्चीच्याउको तरकारी मासुजस्तै स्वादिलो हुने र औषधि निर्माणमासमेत प्रयोग गरिने भएकाले यसको माग बढेको उनको भनाइ छ।
भीमफेदीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु मकवानपुर। मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा परी पर्सौनि नगरपालिका–५ बाराका २५ वर्षीय लाल बाबु सहनी र २० वर्षीय रवीन्द्र मण्डल रहेका छन्। भिमफेदी गाउँपालिका–६ जुरिखेतमा बागमती प्रदेश ०२–०२० प ४२३७ नम्बरको मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवम प्रवक्ता टेकबहादुर कार्कीका अनुसार बुधबार साँझ काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको अवस्थामा अनियन्त्रित भई सो मोटरसाइकल दुर्घटना भएको थियो। मृतक दुवैजनाको शव हेटौंडा अस्पतालमा राखिएको छ।
आजको मौसमः देशका अधिकांश भागमा पानी पर्ने संभावना काठमाडौं। हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आँशिकदेखि सामान्य बदली रहेको छ। दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरु तथा बाँकी भू-भागमा एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। राति भने देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।
मातातीर्थमा चट्याङ लागेर एकको मृत्यु काठमाडौं। काठमाडौंको मातातीर्थमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिका–६ मातातीर्थमा आज दिउँसो चट्याङ लागेर मकवापुर भीमफेदी घर भई काठमाडौं बस्दै आएका ३५ वर्षीय राजु तामाङको मृत्यु भएको हो । मातातीर्थमा निर्माणाधीन घरमा काम गरिरहेका बेलामा कौसीमा चट्याङ लागेपछि गम्भीर घाइते भएका तामाङको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए । मृतक तामाङले लामो समयदेखि मिस्त्री काम गर्दै आएका थिए । तामाङको शव परीक्षणका लागि त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज लगिएको प्रवक्ता रिजालले बताए।
करेन्ट लागेर दाङमा एक जनाको मृत्यु, दुई घाइते दाङ । दाङको तुलसीपुरमा बुधबार साँझ करेन्ट लागेर एक जनाको ज्यान गएको छ । थप दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा रूकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर १२ घर भएका २८ वर्षीय महेश बिक छन् । उनी तुलसीपुर बसेर जापानी भाषा पढाउँदै आएका थिए । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लका अनुसार महेश बुधबार साँझ ६ बजेतिर तुलसीपुर उपमहागरपालिका वडा नम्बर ६ स्थित विद्युत कार्यालय नजिकै रहेको जापानी भाषा सिकाउने आफ्नो कार्यालयको बोर्ड फेर्दै थिए । पुरानो विज्ञापन बोर्ड झिकेर नयाँ राख्ने क्रममा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर अवस्थामा पुगेका महेशको राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको डिएसपी मल्लले बताए । करेन्ट लागेर पुथा – १२ कक्शेरा फल्नेका १६ वर्षीय अर्जुन बिक र भूमे गाउँपालिका– ४ काँडाकी १८ वर्षीया मोनिका बिक घाइते भएका छन् । उनीहरू दुवै जनालाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ । अर्जनु र मोनिका पनि तुलसीपुर– ६ मै डेरा गरी बस्दै आएका थिए ।
कञ्चनपुरमा १७ वर्षीया किशोरी बलात्कृत कञ्चनपुर । कञ्चनपुरमा एक १७ वर्षीया किशोरी बलात्कृत भएकी छन् । बेदकोट नगरपालिका–१० का १८ वर्षीय किशोरले जबरजस्ती करणी गरेको भन्दै ती किशोरीले प्रहरीमा उजुरी दिएपछि उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । प्रहरीका अनुसार पीडित किशोरीले ती किशोरविरुद्ध गत सोमबार जबरजस्ती करणीको उजुरी दिएपछि अनुसन्धानका लागि किशोरलाई नियन्त्रणमा लिएको जनाएको छ ।
लोकसेवा आयोगको डाटा रिकभरी नभएपछि पुनःदरखास्त आह्वान काठमाडौं। लोकसेवा आयोगको अनलाइन दरखास्त प्रणाली होस्ट गरिएको सरकारी एकीकृत डाटा सेन्टरमा रहेको तथ्याङ्क हराएपछि आज उम्मेदवारका लागि पुनःदरखास्त आह्वान गरेको छ । आयोगले डाटा सेन्टरबाट पहिले दरखास्त बुझाएको फारामको तथ्याङ्क हराएकाले उम्मेदवारलाई पुनःदखास्त गर्न आह्वान गरिएको आयोगका सूचना अधिकरी देवीप्रसाद सुवेदीले जानकारी दिए । उनले डाटा रिकभरी गर्न नसकिने भएपछि पुनःदरखास्त गर्नुपरेको बताए। “डाटा सेन्टरमा अवस्थित पूर्वाधारमा विसं २०७९ फागुन २३ गते समस्या सिर्जना भएपश्चात् डाटा सेन्टरबाट डाटा रिकभरीको कार्य भइरहेको तर प्रक्रिया कहिलेसम्म पूरा हुने र के कति डाटा रिकभरी हुने सम्बन्धमा यकीन गर्न नसकिने व्यहोराको जानकारी प्राप्त भएको छ”, उनले भने, “डाटा रिकभरी भएपछि अनिश्चितकालसम्म आयोगका पूर्वप्रकाशित विज्ञापनसम्बन्धी कार्यलाई यथास्थितिमा राखिरहन नमिल्ने भएकाले यही वैशाख १४ गतेको आयोगको निर्णयले पुनःदरखास्तका लागि आह्वान गरिएको हो ।” आयोगले गत मङ्सिर, पुस र माघ महिनामा प्रकाशित ती पदका विज्ञापनमा पुनःदरखास्त आह्वान गरिएको हो । ती पदमा सम्बन्धित उम्मेदवारले आगामी जेठ १८ गतेभित्र पुनःदरखास्त पेस गरी सक्नुपर्नेछ । विसं २०७९ मङ्सिर महिनामा प्रकाशित राजपत्राङ्कित तृतीय श्रेणी (अप्राविधिक) शाखा अधिकृत वा सोसरहको पदको विज्ञापन, पुस महिनामा प्रकाशित राजपत्र अनङ्कित प्रथम श्रेणीको अप्राविधिक नायब सुब्बा वा सोसरह पदको विज्ञापन र माघ महिनामा प्रकाशित राजपत्र अनङ्कित प्रथम श्रेणी (प्राविधिक) नायब सुब्बा वा सोसरह र स्वास्थ्य सेवातर्फ पाँचौँ तहको पदको विज्ञापनमा पेस भएका दरखास्तसम्बन्धी विवरणको डाटा हराएको हो । पूर्वउम्मेदवारले दरखास्त दस्तुर बुझाएको राजस्वसम्बन्धी विवरण सरकारको राजस्व व्यवस्थापन सूचना प्रणालीबाट प्राप्त गरी अनलाइन दरखास्त प्रणालीमा अद्यावधिक गरिसकिएको हुँदा पुनःदरखास्त पेस गर्ने उम्मेदवारले दरखास्त दस्तुर बुझाउनुपर्ने छैन । पुनःदरखास्त आह्वान गरिएका विज्ञापनमा साविकमा जुन समूहको विज्ञापनमा आवेदन गरिएको हो । सोही समूहको विज्ञापनमा मात्र आवेदन गर्नुपर्नेछ । यसपूर्व दरखास्त पेस गर्ने कुनै उम्मेदवारको प्रोफाइल आयोगको दरखास्त प्रणालीमा उपलब्ध नभई लगइन गर्न असमर्थ भएको अवस्थामा त्यस्ता उम्मेदवारले साविकमा दरखास्त पेस गर्दा आफूले उल्लेख गरेको मोबाइल नम्बर प्रयोग गरी नयाँ प्रोफाइल खोली पुनःदरखास्त पेस गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ ।
विद्यालय हिँडेका बालबालिका विद्यालय पुग्नै पाएनन्…. दमौली। तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पा आँधीखोलाका बालबालिका सधैँझै विद्यालय जान सडक छेउमा उभिएका थिए । बिहान ९ः३० बजे सडक छेउमा छ जना बालबालिका विद्यालय जानका लागि विद्यालय पोशाक लगाएर तयारी अवस्थामा थिए । आँबुखैरेनी गाउँपालिका–१ सत्रसयस्थित मित्रता माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी खाना खाइवरी बस कुर्नका लागि सडक छेउमा बसिरहेका हुन् । यतिकैमा अचानक डुम्रेतर्फबाट आएको ट्रकले बालबालिकालाई ठक्कर दियो । उक्त ट्रकले बालबालिकासँगै सडक छेउमै रहेको एक घरमा पनि ठक्कर दियो । ठक्करबाट विद्यालय जान तयारी गरिरहेका छ विद्यार्थी र अन्य दुई जना घाइते भए । विद्यालय जान हिँडेका विद्यार्थी घाइते भएपश्चात् अस्पताल जान बाध्य भए । घाइते अवस्थामा उनीहरुलाई तत्कालै चितवनको पुरानो मेडिकल कलेज पठाइयो । घाइतेमध्ये १२ वर्षीय आयुष भुजेलको उपचारका क्रममा मृत्यु भयो । दुर्घटनामै घाइते ५० वर्षीय चेतबहादुर घर्ती र ६९ वर्षीय सनबहादुर भुजेलको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । “बालबालिका विद्यालय जाने तयारीसहित बसिरहेका थिए, एक्कासि ट्रक आएर ठक्कर दियो । एक जना बाबुको मृत्यु भयो, अन्य पाँच जना बालबालिका घाइते अवस्थामा उपचाररत छन्”, बन्दीपुर–५ का वडाध्यक्ष धु्रवप्रसाद लामिछानेले भने, “विद्यालय हिँडेका बालबालिका अस्पताल जानुपर्दा दुःखद् भयो ।” ट्रकको ठक्करबाट तीन जनाले ज्यान गुमाएपछि याम्पा आँधीखोला शोकमा डुबेको लामिछानेले बताए । घरदेखि १५\२० मिनेटको दूरीमा अवस्थित विद्यालय जान बालबालिका सधैँ गाडी चढेर पुग्थे । दुर्घटनामा सोही विद्यालयमा अध्ययन गर्ने छ वर्षीया आयुषा भुजेल, दश वर्षीया जस्मिन भुजेल, दश वर्षीय ईश्वर भुजेल, आठ वर्षीय समिर भुजेल र पाँच वर्षीय सन्तोष भुजेल घाइते छन् । उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस
घरमा ट्रक ठोक्किँदा तीनजनाको मृत्यु तनहुँ । तनहुँमा घरमा ट्रक ठोक्किँदा तीनजनाको मृत्यु भएको छ । पृथ्वी राजमार्गको दमौली मुग्लिङ सडक खण्डअन्तर्गत आँधिखोलामा ना ४ ख १९७३ नं.को ट्रक अनियन्त्रित भई सडक छेउको घरमा ठोक्किन पुग्दा सो हताहती भएको हो । दुर्घटनामा बन्दिपुर गाउँपालिका–१ बस्ने १२ वर्षीय आयुष भुजेल, ५० वर्षीय चेतबहादुर भुजेल र वर्ष ६९ का सनबहादुर भुजेलको मृत्यु भएको प्रहरीले जनाएको छ । पाँचजना घाइतेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
कोभिडपछि पुरानो अवस्थामा फर्कन सकेन छापा पत्रकारिता काठमाडौं। कोभिड–१९ को सङ्क्रमणपछि पत्रकारिताको छापामाध्यम पुरानो अवस्थामा फर्कन सकेको छैन । कोरोना भाइरसले छापा पत्रकारितालाई अस्तव्यस्त बनाएको बताउँछन् नेपाली छापा माध्यम राष्ट्रिय सञ्जालका अध्यक्ष देवप्रकाश त्रिपाठी । कोरोना महामारीका बेला पत्रिकाको छपाइ र वितरणमा असर गर्‍यो। अनलाइन सञ्चार माध्यम विस्तार हुनु कोरोनाकै ‘बाइ प्रोडक्ट’ भएको उनको तर्क छ । कोरोनाले छापा पत्रकारितामा पारेको असरका विषयमा उक्त सञ्जालले अध्ययन गरेको थियो । कोरोनाकै कारण सहजरूपमा पत्रिका छापिएर वितरण हुन नसकेकाले सामाजिक सञ्जालमा समाचारका सामग्री आउने क्रम पनि बढ्यो । कोरोनापछि केही अनलाइनले राज्यको नियमनमै रहेर पनि पत्रकारिता गरिरहेका छन् । कोरोनाका बेला पत्रिका छापिएर वितरण हुन नसक्दा पत्रकार एवं कामदारले समयमा तलब पाउन सकेनन् । कोरोनापछि अर्थ व्यवस्था पनि बिग्रिएकाले पत्रिकाले विज्ञापन पाउन सकेनन् । राज्यले पनि तुलनात्मकरूपमा बढी जिम्मेवार भएर पत्रकारिता गरिरहेको छापामाध्यमलाई पुरानो अवस्थामा फर्काउन काम गरेको अनुभूति नभएको अध्यक्ष त्रिपाठी बताउँछन्। पत्रकारिताले राजनीतिक क्षेत्रका प्रश्न पनि उठाउने भएकाले राज्यका तर्फबाट त्यस्तो प्रयास हुन नसकेको उनको भनाइ छ । “पत्रकारिताको विश्वसनीयता घट्दा राजनीति गर्ने र भ्रष्टचार गर्नेलाई तुलनात्मकरूपमा सजिलो हुने भएकाले यस्तो भएको हो, पत्रकारिताको विश्वसनीयता रहिरह्यो भने सुशासन र राजनीतिक स्थिरता कायम हुनसक्छ”–पत्रकार त्रिपाठी भन्छन्। कोरोनाले साना छापा माध्यमलाई त अझ बढी असर पारेको छ । लोकतान्त्रिक छापा माध्यम सञ्जालका अध्यक्ष दामोदरप्रसाद दवाडी थोरै लगानीका छापा माध्यमको अवस्था कोरोनापछि झनै खराब बन्न पुगेकाले कोरोनापछि तिनको पेज र सङ्ख्या दुवै घटेको बताउँछन्। केही छापा कोरोनापछि अनलाइन संस्करणमा गए पनि केही भने बन्द र केही घिटीघिटीको अवस्थामा रहेका छन् । कोरोनापछि छापामाध्यममा ५५ प्रतिशतसम्मले गिरावट आएको उहाँकोे भनाइ छ । पहिले पत्रिकामै आउने समाचार कोरोनापछि अनलाइनमा आउन थालेका छन् । कोरोनापछि पत्रिका र त्यसमा काम गर्ने पत्रकारको अवस्था दयनीय बन्न पुगेको प्रेस काउन्सिल नेपालका प्रवक्ता दीपक खनाल बताउँछन्। आर्थिक संकटका कारण सञ्चार गृहले समयमै तलब दिन सकेनन् । तलब नपाएपछि पत्रकार पनि अन्यत्रै लाग्न थाले । विसं २०७६ चैत ११ गतेदेखि कोरोना महामारीकै कारण देशभर बन्दाबन्दी (लकडाउन) गरियो । पत्रकारितालालाई अत्यावश्यक पेशाका रुपमा सञ्चालन हुन दिने भनिए पनि व्यावहारिकरूपमा त्यति सहज थिएन । विसं२०७६ फागुन २२ गतेदेखि नै काउन्सिलले पत्रकारलाई संयमित भएर काममा लाग्न आह्वान गरेको थियो । नेपाल पत्रकार महासंघको सहमतिमा काउन्सिलले बन्दाबन्दीको अघिल्लो दिन अर्थात् २०७६ चैत १० गते कोरोनासम्बन्धी विशेष निर्देशिका जारी गरेको थियो ।रासस