content
stringlengths
20
64.1k
गृहमन्त्री श्रेष्ठ र चिनियाँ राजदूतद्वारा बुद्ध जन्मस्थलको भ्रमण लुम्बिनी। उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन्। आज लुम्बिनी आएका उपप्रधानमन्त्री श्रेष्ठसहित नेपालका लागि चिनियाँ राजदूत चेन सोङले लुम्बिनी भ्रमण गरेका हुन्। कोषका उपाध्यक्ष भिक्षु मैत्तय (अवधेशकुमार त्रिपाठी), सदस्य सचिव सानुराजा शाक्य तथा प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले गृहमन्त्री श्रेष्ठ र राजदूत सोङलाई स्वागत गरेका थिए । विभिन्न कार्यक्रमका सिलसिलामा रुपन्देही आएका गृहमन्त्री श्रेष्ठले मायादेवी मन्दिरको दर्शन, अशोकस्तम्भ, पवित्र बगँैचा, शान्तिदीपको अवलोकन गरे । त्यस्तै चिनियाँ विहारको समेत गृहमन्त्री र राजदूतले निरीक्षण गरेको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए । भ्रमणका क्रममा गृहमन्त्री श्रेष्ठले बुद्ध जन्मस्थल लुम्बिनीको पछिल्लो अवस्था, पर्यटकको अवस्था र विकास निर्माणका सवालमा चासो राखेका थिए।
ओरियन्सको नेटवर्किङमा फसेका सयौँ युवाको बिचल्ली झापा। धनकुटाको छथर जोरपाटी गाउँपालिका–५ को चुलाचुली माध्यमिक विद्यालयमा कक्षा ११ पढ्दै गरेकी १७ वर्षीया प्रतिमा लिम्बूलाई साथीले नै राम्रो जागिर पाइन्छ भनेर बिर्तामोडको ओरियन्स कार्यालयमा पुर्याइन् । “तपाईं असाध्य राम्री हुनुहुँदोरहेछ, कमाइ पनि राम्रै हुन्छ भनेर त्यहाँका सर म्यामहरूले फुरुक्क पार्नुभयो”, पहिलोपल्ट ओरियन्सको कार्यालयमा पुग्दाको क्षण सम्झिँदै उनले भनिन्, “सुरुमा एक लाख ३० हजार बुझाउनुपर्छ भन्नुभयो, मैले खुरुक्कै बुझाएँ ।” तालिम, युनिफर्म र होस्टेलको खर्च भनेर पटकपटक आफूले रकम बुझाएको र दुई महिना काम गर्दा कुनै तलब र आम्दानी नभएपछि पैसा डुबाएर घर फर्किएको उनले बताइन्। अहिले उनी आफ्नो पैसा फिर्ताका लागि कानूनी उपचार खोज्ने तयारीमा छन् । जागिरको प्रलोभनमा परेर ग्लोबल ओरियन्स नेपालमा मोटो रकम बुझाएका प्रतिमाजस्तै कोशी प्रदेशका सयौँ युवाले ठगिएको गुनासो गरेका छन् । बिर्तामोड–४ स्थित विद्युत् प्राधिकरण कार्यालयको छेउमा रहेको ओरियन्सको शाखा कार्यालयले झापा, इलाम, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, खोटाङलगायत विभिन्न पहाडी जिल्लाका बेरोजगार युवालाई जागिरको प्रलोभनमा पारेर अनुचित रकम असुल्दै आएको पीडितको भनाइ छ । नेटवर्किङ व्यापार चलाइरहेका ओरियन्सका सञ्चालकले फेसबुक र टिकटकमा विज्ञापन गरी मासिक रु ४० हजारसम्म तलब दिने भनेर बेरोजगार युवालाई बिर्तामोड बोलाउने गरेका छन् । दर्ता शुल्क, तालिम शुल्क, होस्टेल शुल्क र युनिफर्म शुल्कको नाममा हजारौँ रकम असुलेपछि भारतको ओरियन्स कम्पनीका ‘फुड सप्लिमेन्ट’का सामानहरू उनीहरूलाई जबर्जस्ती भिडाएर बिक्री गर्न पठाउने गरिएको छ । जबर्जस्ती भिडाइएको सामान बिक्री नहुने र ऋण काढेर बुझाएको रकम सञ्चालकले हत्याउने गरेका कारण ओरियन्समा आबद्ध भएका युवा बिचल्लीमा पर्ने गरेका छन् । ठगिएका धेरैजसो ‘डिप्रेसन’ मा पर्ने गरेका छन् । धनकुटामै कोरियाली भाषा पढ्दै गरेकी तेह्रथुम जिल्ला छथर गाउँपालिका–६ शुक्रबारेकी फुलमाया शेर्पा पाँच महिनासम्म ओरियन्समा बन्धकजस्तै सास्ती भोगेपछि फुत्किएर अहिले काठमाडौँ पुगेकी छन् । धनकुटाको एउटा भाइले बिहान र बेलुका काम गरेर सजिलै पैसा कमाउन सकिन्छ भनेर लोभ देखाएर आफूलाई ओरियन्सको नेटवर्किङ धन्दामा फँसाएको उनले बताइन् । उनले बिर्तामोडको ओरियन्सको शाखामा सुरुमा रु ३७ हजार र पटकपटक गरेर रु दुई लाखभन्दा बढी रकम बुझाएको जानकारी दिइन् । “तालिम दिने भनेर बिर्तामोडको बाहिरी बस्तीमा होस्टेलमा राखेर उनीहरूले बन्धक जस्तै बनाए,” ओरियन्सबाट पीडित फुलमायाले भनिन्, “सुरुमै पैसा लगिहाले । होस्टेलमा राखेका बेला घरमा अभिभावकलाई फोन गर्न समेत दिएनन् । तलब दिन्छौँ भनेर ठगे ।” तालिम दिएपछि सामान बेच्न पठाएको उल्लेख गर्दै उनले सामान नबिकेको गुनासो सुनाउँदा ओरियन्सका सञ्चालकले अरु दुई जना साथीलाई संस्थामा आबद्ध गराएपछि मासिक रु ४० हजार तलब दिने झुठो आश्वासनमा फँसाएको बताए। तलब पाइने आशमा फुलमायाले आफ्नै बहिनी र हजुरबुबालाई समेत ओरियन्समा आबद्ध गराएकी थिइन् । बहिनीले रु ४० हजार र हजुरबुबाले रु एक लाख २० हजार नगद संस्थाका सञ्चालकहरूलाई बुझाएको उनले बताइन् । ती सबै रकम बुझाएको महिना बित्दा पनि कुनै तलब नपाएपछि ठगी भएको बल्ल थाहा पाएको उनले सुनाइन् । युनिफर्मका लागि कोट, पाइन्ट र सर्ट किन्दासमेत अलग्गै रकम बुझाएकी उनले आफ्नो सम्पूर्ण रकम फिर्ता माग्दा उल्टै हप्की र धम्की बेहोर्नुपरेको गुनासो सुनाइन् । पाँच महिनापछि फुत्किएर काठमाडौँ पुगेकी उनी पनि ओरियन्सविरुद्ध कानूनी उपचार खोज्ने तयारीमा छन् । ओरियन्समा रु ४० हजार बुझाएकी इलामस्थित माइजोगमाई–३ नामसालिङकी रामकला श्रेष्ठले चार महिना काम गरेपछि सञ्चालकसँग तलब मागिन् । अरु दुई जनालाई संस्थामा नजोडेसम्म तलब नदिने भनेपछि उनले फैसा फिर्ता मागिन् । “तलब पनि हुँदैन, पैसा फिर्ता पनि हुँदैन भनेर मलाई हप्काएर पठाए”, उनी भन्छिन्, “चार महिना बस्दा उनीहरूले हामीलाई बन्धक जतिकै बनाएका थिए । होस्टल भन्दै एउटै कोठामा १५ जनासम्म कोचेर राख्थे । एउटै बिल्डिङको माथ्लो तलमा केटीहरूलाई र तल्लो तलामा केटाहरूलाई राख्थ्यो । घरमा फोन गर्दा पनि मोबाइल खोसिदिन्थे ।” ओरियन्सको नेटवर्किङ बिजनेस धन्दामा लाखौँ रकम बुझाएर ठगीको शिकार भएका युवाहरू पाँच सयभन्दा बढी सङ्ख्यामा रहेको खोटाङको बाक्सिला गाउँपालिका–४ की २० वर्षीया पीडित आशा राईले दाबी गरिन् । अधिकांश पीडित पहाडतिरका बेरोजगार अवस्थामा रहेका सोझा विद्यार्थी रहेको र बाबुआमासँग जिरह गरेर ऋण काढेको रकम ओरियन्समा लगेर डुबाएको उनको भनाइ छ । सुरुमा जागिर पाइने भनेर उत्साही बन्ने गरेका युवालाई दुई महिनापछि नै ठगिएको थाहा हुने भए तापनि आफ्नो लगानीको सुरक्षाका लागि अरु दुई जना सदस्य खोजेर लैजाँदा पीडित हुनेको सङ्ख्या झन बढ्ने गरेको उनले बताइन् । झापामा ओरियन्सका धन्दा चलाउनेले भिजन मल्टीपर्पोज कम्पनीको नाममा समेत युवाबाट रकम असुली गर्दै आएको पाइएको छ । नेटवर्किङ गरेर सदस्यको सङ्ख्या बढाउने र जागिरको लोभ देखाएर रु ४० हजारदेखि रु एक लाख २० हजारसम्म रकम असुली गर्ने यी धन्दावालाले राजनीतिक संरक्षणसमेत पाउने गरेका छन् । विभिन्न जिल्लाबाट रोजगारीको प्रलोभनमा रकम बुझाएर ठगीमा परेको गुनासो आउन थालेपछि जिल्ला प्रहरी कार्यालय झापाले ओरियन्सका गतिविधि निगरानी गर्न थालेको छ । प्रहरी उपरीक्षक दुर्गा रेग्मीले बिर्तामोडमा रहेका ओरियन्सका कार्यालयका केही कर्मचारीलाई सोधपुछ गरिएको र उनीहरूको क्रियाकलाप निगरानी भइरहेको बताए । प्रहरी कार्यालयमा पीडितले अहिलेसम्म लिखित उजुरी भने नदिएको उनको भनाइ छ । हाल झापाको बिर्तामोडमा रहेका ओरियन्सको कार्यालयले सञ्चालनमा ल्याएका तालिम केन्द्र र कथित होस्टलमा पाँच सयको हाराहारीमा विभिन्न जिल्लाका युवा बसिरहेका छन् । छिटो उद्धार भएन भने उनीहरू पनि ठगिने निश्चित छ । गत माघ १४ गते बिर्तामोडको हिमालसागर पार्टी प्यालेसमा ग्लोबल ओरियन्स नेपालले आफ्ना हजारभन्दा बढी सदस्यलाई तालिम सञ्चालन गरेको थियो । भारत र दुबईमा बसेर नेटवर्किङ धन्दा चलाइरहेका विभिन्न व्यक्तिले उक्त कार्यक्रममा प्रशिक्षण प्रदान गरेका थिए । कार्यक्रममा झापाका सांसद र नगरपालिका प्रमुखसमेत अतिथिका रूपमा उपस्थित रहेका थिए । धरानका नगरप्रमुख हर्क साम्पाङले खानेपानी आयोजनाका लागि सञ्चालन गरेको श्रमदान अभियानमा समेत श्रमदान गर्न ग्लोबल ओरियन्सले युवालाई पठाएको पाइएको छ । के हो ओरियन्स ? भारतलगायत विभिन्न मुलुकमा ग्लोबल ओरियन्सको नेटवर्किङ धन्दा चल्दै आएको छ । ओरियन्सको नामबाट नेपालमा छुट्टै कम्पनी दर्ता छ । भारतमा उत्पादित ‘फुड सप्लिमेन्ट’का विभिन्न सामान बिक्रीका लागि युवा परिचालन गर्नु नै ओरियन्सको प्रमुख उद्देश्य हो । मासिकरूपमा अस्वाभाविक तलब दिने भनेर लोभ्याएपछि युवालाई तालिममार्फत धनी बन्ने तरिका सिकाउने भन्दै ओरियन्समा लाग्न ‘ब्रेन वास’ गरिन्छ । यसलाई उनीहरूले उत्प्रेरक र नेतृत्व विकास तालिम बताउने गरेका छन् । यसका लागि सञ्चालकले युवालाई आफ्नो पूर्ण नियन्त्रणमा राख्न सहरको कोठा भाडामा लिन्छन् । जसलाई उनीहरू होस्टेल भन्छन् । होस्टलको खाने र बस्ने खर्च पनि सदस्य आफैँले तिर्नुपर्छ । विभिन्न तीन तहको सदस्य भन्दै उनीहरूसँग रकम लिने गरिन्छ र रकमभन्दा केही कम मूल्यको ‘फुड सप्लिमेन्ट’का विभिन्न सामान बेच्नका लागि भन्दै थमाइन्छ । यी सामान मिर्गौला, मुटु, क्यान्सरलगायत सबै रोगको औषधि हो भन्दै बेच्न लगाउने गरिएको छ । औषधि भन्दै ‘फुड सप्लिमेन्ट’का भारतीय सामान बेच्ने युवा डाक्टर जस्तै बनेर सामान बेच्ने प्रयासमा लाग्छन् । सामान नबिक्ने र पैसा पनि डुबेको थाहा पाएपछि अधिकांश युवा डिप्रेसनमा पर्ने गरेका छन् । सदस्य विस्तार गर्न सञ्चालकले उनीहरूलाई मानसिक दबाबसमेत दिने गरेका छन् । चन्द्रकला भण्डारी\रासस
निजी विद्यालयलाई आफू खुसी शुल्क नबढाउन शिक्षा मन्त्रालयको निर्देशन काठमाडौं। शिक्षा मन्त्रालयले निजी विद्यालयलाई आफू खुसी शुल्क नबढाउन निर्देशन दिएको छ। मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले आज एक प्रेस विज्ञप्ति जारी गर्दै शैक्षिक सत्र २०८० का लागि विद्यार्थी भर्ना गर्दा केही निजी लगानीका विद्यालयले आफू खुसी शुल्क उठाएको भन्ने विषयमा मन्त्रालयको गम्भीर ध्यानाकर्ण भएको जनाएको छ। स्थानीय तहले स्वीकृति गरिदिएको सीमाभित्र रहेर मात्र शुल्क लिन पाउने व्यवस्था रहेको मन्त्रालयले स्मरण गराएको छ। विज्ञप्तिमा भनिएको छ, “कुनै पनि विद्यालयले स्वीकृत भएको शुल्कको विषयमा पारदर्शी ढङ्गले सबै अभिभावकलाई जानकारी गराउनुपर्छ । अभिभावकले तोकिएको शुल्कको स्वीकृतिको विषयमा प्रश्न गर्न पाउँछन्।” त्यो विषयमा विद्यालय रहेको स्थानीय तहमा गुनासो गर्न पाउने व्यवस्था रहेको भन्दै मन्त्रालयले केही गुनासो भएमा स्थानीय तहमा जानकारी गराउन मन्त्रालयले निर्देशन दिएको छ।
जापानी प्रविधिमा आधारित कम्पोष्ट मल बजारमा काठमाडौं। रिकिशी दाइची कम्पोष्ट फर्टिलाइजर एण्ड एग्रो प्रालिले लामो समयको अनुसन्धान र परीक्षणपछि गुणस्तरीय र दुर्गन्धरहित कम्पोष्ट (प्राङ्गारिक) मलको व्यावसायिक उत्पादन बजारमा ल्याएको छ। रासायनिक मलको आयातलाई प्रतिस्थापन गरी माटोको उर्वरा शक्तिलाई जोगाउँदै उत्पादन र उत्पादकत्व वृद्धि गर्ने सन्दर्भमा कम्पोष्ट मल उपयुक्त विकल्प हुने प्रालिका प्रबन्ध निर्देशक उषा गिरीले दाबी गरे। जापानी प्रविधिमा आधारित उक्त मलको प्रयोगपछि बालीनालीमा कीटनाशक औषधि आवश्यकता नपर्ने भएकाले जनस्वास्थ्य र वातावरणमैत्री रहने उनले उल्लेख गरे। खाद्यान्न बाली, फलफूल र तरकारी रासायनिक मलको प्रयोगसरह नै उत्पादनको लाभ लिन सकिने जनाउँदै प्रालिले यसको प्रयोगले अर्बौं विदेशी मुद्रा सञ्चितिमा योगदान पुग्ने जनाएको छ। सिन्धुलीको दुधौली, भक्तपुरको ठिमी, काभ्रेको पाँचखाल र दाङको राप्ती नगरपालिकासँग सहकार्य गरी उक्त प्रालिले कम्पोष्ट मलका लागि शाखा विकास र विस्तार अघि बढाउँदै आएको छ। घाँस, घरायसी फोहर, रातो माटो, भुस, ढुटोजस्ता जैविक सामग्रीबाट तयार गरिने कम्पोष्ट प्राकृतिक र जैविक मल हो। रासायनिक मलको तुलनामा कम्पोष्टको प्रयोग माटोको उर्वरा शक्ति बढाउने तथा माटोलाई खुकुलो बनाएर उत्पादन र लागतका हिसाबले आकर्षक विकल्प रहने देखाएको छ। सम्पूर्ण स्वदेशी कच्चा पदार्थको प्रयोग हुने भएकाले निकै सस्तो रहने प्रालिका संस्थापक किरणप्रकाश साखःले बताए। उनले भने, “रासायनिक मलको तुलनामा निकै लाभदायी र सस्तोमा कम्पोष्ट उपलब्ध हुन्छ, अन्नबालीमा रोगव्याधि र किरा नलाग्ने हुँदा ढुक्क भएर प्रयोग गर्न सकिन्छ।” “सरकारले रासायनिक मललाई दिँदै आएको अनुदानको केही अंश उपलब्ध गराएमा किसानलाई मल सित्तैमा उपलब्ध गराउन सक्छाँै”, संस्थापक साखःले भने। उक्त प्रविधिबाट वस्तुभाउको गोबरलाई नवीनतम प्रविधि अपनाएर गरिने प्रयोगले बाली तथा बोट बिरुवामा किराको सङ्क्रमण कम हुने दाबी गर्दै संस्थापक साखःले कृषि प्रधान देशमा मलका लागि भौँतारिनुपर्ने अवस्था अन्त्यका लागि यो प्रयास र प्रयत्न अघि बढाएको बताए। काठमाडाँै उपत्यकालगायतका सहरबाट सङ्कलन गरिने ८० प्रतिशत फोहरलाई मलमा परिणत गर्न सकिने बताउँदै प्रालिले बालीनालीका लागि कम्पोष्ट मल नेपाली भान्सामा थकाली खानाजस्तै रहेको बताए। अहिले रासायनिक मलका लागि सरकारले वार्षिक रु सात अर्बभन्दा बढी अनुदान दिँदै आएको छ भने मुलुकले तरकारीलगायतका बालीनालीमा लाग्ने रोग र किरा नियन्त्रणका लागि वार्षिक एक हजार एक सय टनभन्दा बढी विषादी आयात गरिरहेको छ। कम्पोष्ट मलको प्रयोगले रासायनिक मलको आयात घटाउन र मुलुकमा कृषि उत्पादन बढाउन योगदान पुग्ने प्रालिको दाबी छ। काठमाडाँै उपत्यकाको फोहर सहजरूपमा प्राप्त गरेमा प्रालिले दैनिक पाँच सय टन कम्पोष्ट मल तयार गर्ने क्षमता राखेको सो अवसरमा जानकारी दिइयो।
गोरखाको बालुवा केन्द्रविन्दु भएर भूकम्प काठमाडौं। गोरखाको बालुवा केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार गोरखा जिल्लाको बालुवा केन्द्रविन्दु भएर आज साँझ ६ बजेर ५० मिनेटमा चार दशमलव एक रेक्टरस्केलको भूकम्प गएको हो। भूकम्पको धक्का गोरखा, लमजुङलगायतका जिल्लामा महसुस गरिएको थियो। यसअघि चैत १८ गते दोलखाको सुरी केन्द्रविन्दु भएर पाँच दशमलव दुई र सोही दिन लमजुङको मालिङ केन्द्रविन्दु भएर तीन दशमलव आठ रेक्टरस्केलको भूकम्प गएको थियो। नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ।
अस्पतालमा सुत्केरी महिलाको मृत्यु भएपछि कैलालीको अत्तरिया क्षेत्र तनावग्रस्त, प्रहरीद्वारा अश्रुग्यास प्रहार सुदूरपश्चिम। कैलालीको अत्तरियास्थित मालाखेती अस्पतालका चिकित्सकको लापरवाहीले नवजात शिशुसहित सुत्केरी महिलाको मृत्यु भएको भन्दै आक्रोशित स्थानीयवासीले गरेको प्रदर्शनपछि आज अत्तरिया क्षेत्र तनावग्रस्त रह्यो। मृतक पक्षलाई उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने र लापरवाही गर्ने चिकित्सक र स्टाफ नर्समाथि कारबाहीको माग गर्दै गरिएको प्रदर्शनका क्रममा आज पूर्वपश्चिम राजमार्गको अत्तरिया सडकखण्ड अवरुद्ध पार्ने प्रयास गरिएपछि प्रहरीले बल प्रयोग गरी सडक सञ्चालनमा ल्याएको थियो। यस क्रममा प्रहरी टोलीमाथि ढुङ्गामुढा प्रहार भएपछि स्थितिलाई नियन्त्रणमा लिन लाठी चार्ज गर्नुका साथै केही राउण्ड अश्रुग्यास प्रहार गरी प्रदर्शनकारीलाई तितरबितर पारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताए। प्रसूति सेवाका लागि मालाखेती अस्पताल पुगेकी गोदावरी नगरपालिका–२ की २८ वर्षीया लक्ष्मी भट्टराईको नवजात शिशुसहित आइतबार मृत्यु भएको थियो। घटनालगत्तैबाट स्थानीयवासीले प्रदर्शन जारी राखेका छन्। मृतक लक्ष्मी र नवजात शिशुको शव आज दोस्रो दिनसम्म उठेको छैन। पीडित पक्ष, अस्पताल प्रशासन र गोदावरी नगरपालिकाबीच समस्या समाधानका लागि छलफल जारी रहेको छ। अस्पतालसँग यसअघि आइतबार पनि भएको छलफल पछि पनि आफ्ना माग पूरा नगरेकाले पीडित पक्षले शव उठाउन मानेको छैन। छलफलका क्रममा छानबिन समिति गठन गर्ने भए पनि समिति गठन गर्न पहल नभएको भन्दै पीडित पक्षले शव उठाउन नमानेको हो।
नेपाल टेलिकमले ल्यायो स्प्रिङ अफर, के-के छन् सुविधा? काठमाडौं। नेपाल टेलिकमले चैत २९ गतेदेखि ३ महिनाको लागि स्प्रिङ अफरको रूपमा विभिन्न अफरहरू उपलब्ध गराउने भएको छ। यस अफरमा एफटीटीएच प्याकेजलाई अझ आकर्षक बनाइएको छ। यस अनुसार डाटा सुविधा मात्र उपलब्ध भएको एफटीटीएच प्याकेज अब वार्षिक ८ हजार रुपैयाँमा उपलब्ध हुनेछ। पहिले देखि नै एफटीटीएच भ्वाइस सेवा प्रयोग गरिरहेका ग्राहकलाई भने यो प्याकेज वार्षिक ६ हजार रुपैयाँमा उपलब्ध गराइने छ। साथै, कम्पनीले १ वर्षे प्याकेज तथा आइपिटिभी कम्बो प्याकेजमा हाल उपलब्ध गराइरहेको २५ एमबिपिएस स्पिडलाई बढाएर ३० एमबिपिएस बनाइएको छ। त्यसैगरी एनटीटीभी सहितको प्याकेज लिने ग्राहकलाई वार्षिक १२ हजार रुपैयाँमा २० एमबीपीएसको इन्टरनेट, ३ हजार हजार मिनेट कुराकानी गर्न सकिने भ्वाइस सेवा र एनटीटीभी सेवा उपलब्ध गराइने छ। यस अलावा विगतका विभिन्न प्रकारका भ्वाइस प्याक, डाटा प्याक, कम्बो प्याक, एसएमएस प्याक, सीयूजी प्याक, पोस्टपेड प्याक लगायतका अन्य प्याकलाई निरन्तरता दिइएको छ। सजिलो अनलिमिटेड प्रिपेड प्याकेजमा दैनिक रूपमा प्राप्त डाटा खपत भएपश्चातको डाटा थ्रोटिङ स्पिडमा बढोत्तरी गरिएको छ। प्याकेजमा प्राप्त दैनिक प्रयोगका लागि उपलब्ध डाटा सेवाको खपत पश्चात उत्ति नै स्पिडको सेवा प्रयोग गर्नुपरेमा *१४४२# डायल गरी सुलभ दरको एड अन प्याक पनि प्राप्त गर्न सकिन्छ। स्प्रिङ अफर अन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *१४१५*१# डायल गर्नुपर्ने छ। कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । त्यसैगरी कम्पनीको वेबसाइट www.ntc.net.np मार्फत यस सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिन्छ ।
अमेरिकी डलरसहित ९ जना नेपाली पक्राउ काठमाडौं । ८ हजार बढी अमेरिकी डलरसहित ९ जना नेपाली पक्राउ परेका छन् । सोमबार साँझ दुबई जान लागेका उनीहरूलाई त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको त्रिअबि प्रहरीले जनाएको छ । पक्राउ परेकामध्ये ८ जना दुबई हुँदै क्रोयसिया र रोमानिया जाने तयारीमा थिए । अर्का एक जन भने ती आठ जनालाई पठाउन विमानस्थल पुगेका थिए । उनीहरूको साथबाट ८ हजार ४०४ अमेरिकी डलर र ९१६ युरो बरामद भएको प्रहरीको भनाइ छ । प्रहरी स्रोतका अनुसार उक्त रकम दुबई हुँदै क्रोयसिया, रोमानियाजस्ता मुलुकहरूमा पुर्‍याउने गरिएको छ । मंगलबार पनि त्रिअबि प्रहरीले २० हजार अमेरिक डलरसहित दुई जना बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ ।
पर्साका तत्कालीन मालपोत प्रमुखसहित चार जनाविरुद्ध ९५ लाखको भ्रष्टाचार मुद्दा काठमाडौं। मालपोत कार्यालय, पर्साका तत्कालीन कार्यालय प्रमुख प्रकाश पोखरेलविरुद्ध ९५ लाख आठ हजार ३४ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले मङ्गलबार प्रेस विज्ञप्ति जारी गर्दै प्रमुख पोखरेलले आफ्नो कार्यकालमा आर्थिक वर्ष २०७२\७३ मा सङ्कलन भएको राजस्व रकम ९३ लाख ६६ हजार २०९ रुपियाँ हिनामिना भएको आरोप लागेको छ। रकम हिनामिनामा प्रतिवादी मदनप्रसाद गुप्तालाई प्रोत्साहन गरी राजस्व दुरुस्तरुपमा दाखिला नगराएको देखिएको विज्ञप्तिमा उल्लेख छ। कार्यालयका तत्कालीन कार्यालय प्रमुख गमबहादुर विश्वकर्माले सोही आर्थिक वर्षमा अनुगमन गर्नुपर्नेमा कुनै पनि अनुगमन नगरेको र कार्यालयमा सङ्कलन भएको एक लाख ४१ हजार ८२५ रुपियाँ राजस्व हिनामिना भएको आयोगले जनाएको छ। यसैगरी, कार्यालयका तत्कालीन नायब सुब्बा मदनप्रसाद गुप्ताले राजस्वको विस्तृत विवरणसहित लेखा शाखामा बुझाउने रकम निजले ९५ लाख आठ हजार ३४ रुपियाँ हिनामिना गरी चुहावट गरेको पुष्टि भएको छ। तत्कालीन लेखापाल नागेन्द्रप्रसाद चौधरीले कानुनी व्यवस्था विपरीत रकम हिनामिनामा मद्दत पुर्‍याएको आरोप छ। आरोपितमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ।
न्यायाधीश भुवन गिरी पक्राउ काठमाडौं । प्रहरीले न्याय परिषदमा कार्यरत न्यायाधीश भुवन गिरीलाई पक्राउ गरेको छ। उनलाई मंगलबार प्रहरीले सामाखुशीबाट पक्राउ गरेको हो । उनीविरुद्ध वैवाहिक जबरजस्ती करणी मुद्दा परेपछि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जिल्लाअदालतसमक्ष अनुसन्धानका लागि पक्राउ पुर्जी माग गरेको थियो। जसअनुसार अदालतले उनलाई पक्राउ गर्न आदेश दिएको हो । श्रीमती आरती रावलले आफूमाथि वैवाहिक बलात्कार भएको भन्दै कपिलवस्तु प्रहरीमा उजुरी दिएकी थिइन् । सोही उजुरीका आधारमा न्यायाधीश गिरीलाई अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ। यसअघि शैक्षिक प्रमाणपत्र नक्कली रहेको लगायतका विषयमा न्यायाधीश गिरीकी पत्नी रावलविरुद्ध पनि बाँके जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो।
१२ कक्षासम्म निःशुल्क शिक्षा उपलब्ध गराउनुपर्छः माधव नेपाल काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले मुलुकको शिक्षा प्रणालीलाई समयसापेक्ष सुधार गर्दै लैजानुपर्ने बताएका छन्। मंगलबार काठमाडौंमा प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठनलेको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै अध्यक्ष नेपालले शिक्षा प्रणालीमा सुधार गर्नका लागि प्रधानमन्त्री र शिक्षामन्त्री आफैँ अग्रसर हुनुपर्नेमा जोड दिए। उनले १२ कक्षासम्म निःशुल्क शिक्षा उपलब्ध गराउनुपर्ने भन्दै सीपयुक्त र व्यावहारिक शिक्षा प्रदान गर्नुपर्ने आवश्यकता औँल्याए। उनले नैतिक शिक्षा नहुनाले सामाजिक मर्यादा बिर्सन थालेको उल्लेख गर्दै विद्यालय तहमा नैतिक शिक्षालाई अनिवार्य बनाउनुपर्ने बताए। त्यस्तै उनले अहिलेको सरकारले शिक्षा क्षेत्रलाई उच्चतम प्राथमिकतामा राखेर काम गर्नुपर्ने जिकिर गरे।
रुपन्देहीमा कोरोना सङ्क्रमित बढे रुपन्देही। रुपन्देहीमा केही समयसम्म मत्थर देखिएको कोभिड सङ्क्रमण फेरि बढ्दो अवस्थामा देखिएको छ। सडक मार्ग हुँदै नेपालमै सबैभन्दा बढी पर्यटक भित्र्याउने नाकाका रुपमा रहेको रुपन्देहीको बेलहिया नाकामा कोभिड सङ्क्रमितको सङ्ख्या बढेको देखिएको छ। बेलहिया नाका हुँदै नेपाल भित्रिने यात्रुहरुमध्ये भारतीय यात्रुहरुमा तुलनात्मक रुपमा सङ्क्रमण बढी देखिएको छ। नाकामा सङ्क्रमण देखिएकाहरु आफ्नै तरिकाले आफ्नो गन्तव्यतर्फ जाँदा यसले सङ्क्रमणको जोखिम झनै बढाएको छ। केही समय पहिला सङ्क्रमित देखिएका भारतीय नागरिकलाई भारत फिर्ता पठाउने गरिए पनि अहिले त्यो अवस्था छैन। फागुनसम्म न्यून सङ्ख्यामा कोरोना सङ्क्रमित देखिए पनि चैतमा यो सङ्ख्या बढेको छ। एन्टिजेन विधिबाट परीक्षण गर्दा चैतमा सबैभन्दा धेरै १९ गते एकै पटक १७ जनामा कोरोना संक्रमित पुष्टि भएको थियो। भारतबाट नेपाल आउने एक सय ५९ यात्रुमा कोरोना परीक्षण गर्दा एकजना नेपाली र १६ जना भारतीयमा सङ्क्रमण पाइएको बेलहिया हेल्थ डेस्कको तथ्याङ्कमा उल्लेख छ। यस्तै, चैत २० गते ९२ जनामा परीक्षण गरिएकामा तीन भारतीय, चैत २३ मा एक सय ६० जनामा परीक्षण गर्दा दुई नेपाली र १० भारतीयसहित १२ जनामा कोभिडको सङ्क्रमण पाइएको थियो। “चैतमा हालसम्म ६३ जनामा कोभिडको ओमिक्रोन सङ्क्रमण पाइएको छ”, स्वास्थ्य कार्यालय भैरहवाका वरिष्ठ जनस्वास्थ्य प्रशासक गौरव ढकालले भने, “यो साता मात्रै ४१ जना पुगेका छन्, फागुन महिनामा नयाँ सङ्क्रमितको सङ्ख्या २८ जना थियो।” कोभिड सङ्क्रमण बढेसँगै केही समययता सुस्त रहेको स्थानीय प्रशासनले सीमामा सतर्कता बढाएको छ। सङ्क्रमण फेरि बढ्ने र महामारी देखापर्न सक्ने सम्भावनालाई दृष्टिगत गर्दै रुपन्देहीमा सङ्क्रमण न्यूनीकरण गर्न तयारी सुरु गरिएको छ। जसमा अस्पतालमा जनशक्ति व्यवस्थापनदेखि भौतिक व्यवस्थापन, खोप एवम् एन्टिजेन परीक्षणलाई तीव्रता दिइएको छ। जिल्ला कोरोना सङ्क्रमण व्यवस्थापन समिति (डिसिसिसिएमसी) को बैठकले बेलहिया हेल्थ डेस्कको क्षमता वृद्धि गरी परीक्षणको दायरा बढाउने निर्णय गरेको छ। रुपन्देहीका सहायक नाकाका रुपमा रहेको लुम्बिनीको ककरहवा नाका र रोहिणीको भगवानपुर नाकामा पनि हेल्थ डेस्क स्थापना गर्ने निर्णय गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए। यससँगै भीडभाड हुने स्थानमा मास्क र स्यानिटाइजरलगायतका स्वास्थ्य मापदण्ड पालन गराउन विभिन्न सचेतनामूलक कार्यक्रम पनि अगाडि बढाइने निर्णय भएको उनले बताए। तत्कालका लागि सीमामा सङ्क्रमित देखिएकाहरुलाई सावधानी अपनाइँदै उनीहरु जान चाहेको गन्तव्यमै जान दिएको पाण्डेको भनाइ छ। “जिल्लावासीका हकमा डिसिसिएमसीको व्यवस्थापनमा सम्बन्धित सङ्क्रमितलाई घरमै छाड्ने गरेका छौँ, जिल्लाबाहिरका नेपाली नागरिकको हकमा सम्बन्धित जिल्लाको सहजीकरणमा छोड्ने गरेका छौँ”, प्रजिअ पाण्डेले भने। “भारतीय नागरिकको हकमा केही समय पहिले उहाँहरुलाई भारत नै फिर्ता पठाउने गरिए पनि अहिले मन्त्रालयको परिपत्रअनुसार सुरक्षा सावधानी अपनाउँदै गन्तव्यसम्म जाने अनुमति दिने गरेका छौँ”, उनले भने। सङ्क्रमणको जोखिम कम गर्न कोभिड विरुद्धको खोपलाई पनि तीव्रता दिने स्वास्थ्य कार्यालयको तयारी रहेको छ। पहिलो र दोस्रो मात्राको खोपका लागि रुपन्देही जिल्ला नै पूर्ण खोप जिल्ला सुनिश्चित भइसकेको छ। यस्तै, बुस्टर डोजका रुपमा रुपन्देहीमा तेस्रो मात्राको खोप ६० प्रतिशतले र अहिले चौथो मात्राको खोप १० प्रतिशतले लगाएको स्वास्थ्य कार्यालय भैरहवाका वरिष्ठ जनस्वास्थ्य प्रशासक गौरव ढकालले बताए। अहिले पनि अग्रपङ्क्तिमा खटिएर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, ज्येष्ठ नागरिक लगायतलाई प्राथमिकतामा राखी खोप लगाउने काम भइरहेको उहाँले बताउनुभयो । अन्यको हकमा भने मन्त्रालयको समन्वयमा खोप मगाउने काम भइरहेको ढकालले बताए। रासस
टेकस्टूडियोले नयाँ वर्षको अवसरमा दराज मार्केटप्लेसमा रोमाञ्चक अभियान घोषणा काठमाडौँ। नेपालमा स्मार्टवेयर र ग्याजेट एक्सेसरीजको अग्रणी प्रदायक कम्पनी टेकस्टुडियो प्रालीले आफ्नो नयाँ वर्ष अभियान सार्वजनिक गरेको छ। टेकस्टुडियो यस अवसरमा मेगा डिल, न्यू इयर बड्स, साउन्डस् लाइक न्यू इयर, फ्ल्यास सेल, ग्याजेट प्रोटेक्टरहरू, स्टे पावरप्याक सहित नयाँ वर्षको सक्रिय योजना घोषणा गर्न पाउँदा गर्व गरेको छ। ई-कमर्श साइट दराज मार्केटप्लेसमा २०७९ चैत २८ गतेदेखि २०८० बैशाख ९ गतेसम्म नयाँ वर्षको अफरहरु सञ्चालन गर्दैछन्। यो रोमाञ्चक अभियान हाम्रा ग्राहकहरूलाई नयाँ वर्षको लागि समयमै हाम्रा उत्पादनहरूको विस्तृत श्रृंखलामा उत्कृष्ट सम्भावित सम्झौताहरू र छुटहरू प्रदान गर्न डिजाइन गरिएको हो। हाम्रो नयाँ वर्ष अभियानहरूको एक भागको रूपमा, हामीले स्मार्टवाचहरू, इयरबडहरू, हबहरू, झोलाहरू र अन्य धेरै लगायत हाम्रा सबैभन्दा लोकप्रिय उत्पादनहरूमा अतुलनिय छुटहरू प्रदान गर्दैछौं। हाम्रा ग्राहकहरूले यी उत्पादनहरूमा ५०% सम्म छुटको मजा लिन सक्छन्, साथै विभिन्न विशेष डिलहरू र बन्डल अफरहरू छन्। यी उत्कृष्ट छुटका अतिरिक्त, हामी अभियान अवधिभर हाम्रा सामाजिक सञ्जाल च्यानलहरूमा रोमाञ्चक प्रतियोगिताहरू र उपहारहरू पनि चलाउँदैछौं। केवल हाम्रो सामाजिक मिडिया पृष्ठहरू पछ्याएर र प्रतियोगिताहरूमा भाग लिएर हाम्रा ग्राहकहरूले पुरस्कारहरू जित्न सक्छन्। किनमेल अनुभवलाई अझ सुविधाजनक बनाउनको लागि, हामीले अभियान अवधिभर रु 2000 माथिका सबै अर्डरहरूमा निःशुल्क शिपिंग पनि प्रदान गर्दैछौं। यसको अर्थ हाम्रा ग्राहकहरूले आफ्नै घरमा बसेर झन्झटमुक्त अनलाइन किनमेलको मजा लिन सक्छन्। नयाँ वर्ष अभियानहरूबारे टिप्पणी गर्दै, टेक स्टुडियोका सीईओ निरञ्जन श्रेष्ठले भने, “हामी हाम्रा ग्राहकहरूलाई हाम्रा उत्पादनहरूमा यी आश्चर्यजनक डिलहरू र छुटहरू प्रदान गर्न पाउँदा रोमाञ्चित छौं। हामी बुझ्छौं कि नयाँ वर्ष भनेको मानिसहरूले सकारात्मक बनाउन खोज्ने समय हो। तिनीहरूको जीवनमा परिवर्तनहरू छन्, र हामी तिनीहरूलाई सबैभन्दा किफायती मूल्यहरूमा उत्कृष्ट सम्भावित उत्पादनहरू उपलब्ध गराएर त्यसो गर्न मद्दत गर्न चाहन्छौं।” त्यसैले चैत २८ को लागि आफ्नो पात्रोमा चिन्ह लगाउनुहोस् र नयाँ वर्षको लागि किनमेल गर्न तयार हुनुहोस्, जस्तो पहिले कहिल्यै थिएन। विशेष रूपमा दराज मार्केटप्लेसमा यी अद्भुत सम्झौताहरू र छुटहरू नछुटाउनुहोस्।
अवैध लागूऔषधसहित ३ जना पक्राउ काठमाडौँ। देशका विभिन्न स्थानबाट तीनजनालाई ‍लागुऔषधसहित पक्राउ गरिएकाे छ। कञ्चनपुर, बेलौरी नगरपालिका-६ भुराकोटबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब १ ग्राम ४८ मिलिग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा कैलाली धनगढी उपमहानगरपालिका-१३ कैलारीगाउँ बस्ने २३ वर्षीय मदन राना र २८ वर्षीय निसान घर्ति मगर रहेका छन्। ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले सु.प.प्र.०१-००९ प ३०९७ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो। मोरङकाे विराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब १ ग्राम ९४ मिलिग्रामसहित सुनसरी धरान उपमहानगरपालिका-६ बस्ने २२ वर्षीय राहुल बिकलाई प्रहरीले पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो। साथै थप अनुसन्धानको क्रममा उक्त पदार्थ सोही ठाउँ बस्ने ४० वर्षीय बिमल बहादुर कट्वालले बोक्न दिएको भनी खुल्न आएपछि कट्वाललाई समेत बिराटनगर महानगरपालिका-१५ स्थित २ नम्बर ढाटमा फेला पारी प्रहरीले पक्राउ गरेको छ। सिरहा, सखुवानान्कार्कट्टि गाउँपालिका-२ सोठियाईनस्थित शौचालयको छतमाथिको ट्याङकीभित्र अवैध लागूऔषध गाँजा करिब १ केजी ५ ग्राम  प्रहरीले बरामद गरेको छ। विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय महेशबारीबाट खटिएको प्रहरीले उक्त गाँजा फेला पारी बरामद गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ।
रथ तान्ने क्रममा ढुङ्गा हानाहान: २० बढि घाइते (भिडियो) काठमाडौं । बिस्केट जात्राका लागि तानिएको भैरबको रथलाई मंगलबार बिहान भक्तपुरको गःहिटी पुराइएको छ । सोमबार सुरु भएको जात्रामा भैरबको रथ तान्ने क्रममा मध्यराति दत्तात्रयमा पुगेपछि ढुङ्गा हानाहान भएपछि मंगलबार बिहान तानेर गःहिटी पुराइएको हो । रथ तान्ने क्रममा राती ढुङ्गा हानाहान हुँदा २० भन्दा बढि घाइते भएका छन् । आठ रात र नौ दिनसम्म भव्यरूपमा मनाइने ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको बिस्काः जात्राको पहिलो दिन भैरबको रथ तान्दा ढुङ्गा हानाहान भएको हो । प्यागोडा शैलीमा निर्माण भएको रथलाई सोमबार साँझ थने(माथिल्लो) र क्वने (तल्लो) टोलतर्फ रथ तान्न सुरु गरिएको थियो । रथ तान्ने क्रममा माथिल्लो टोलकाले दत्तात्रय नजिक रथलाई पुर्याएका थिए। रथलाई राति नै गःहिटी ल्याउनुपर्नेमा ढुङ्गा हानाहान भएपछि बिथोलिएकाले दत्तात्रयमै राखेर मंगलबार गःहिटी ल्याइएको हो । हेर्नुहोस् भिडियो:
क्षेत्रीय कारागार सञ्चालनमा नआउँदा कैदीलाई समस्या खजुरा। बाँकेको नौवस्तामा नवनिर्मित क्षेत्रीय कारागार सञ्चालनमा नआउँदा कैदीबन्दी व्यवस्थापनमा कठिनाइ भएको छ। तीन सय ५० जनाको क्षमताको नेपालगन्ज कारागारमा हाल आठ सय ३९ कैदीबन्दी छन्। महिला थुनुवालाई बर्दिया जिल्ला कारागारमा स्थानान्तरण गरी दुईवटै ब्लकमा पुरुष कैदीबन्दीलाई राखिएको छ। बाँके कारागारको ब्लक ‘ए’मा छ सय १७ र ब्लक ‘बी’ मा दुई सय ३२ कैदीबन्दी राखिएको जेलर अर्जुनजङ्ग शाहले बताए। उनका अनुसार ब्लक ए दुई सय ५० क्षमताको हो भने ब्लक बी एक सय क्षमताको हो। क्षमताभन्दा बढी कैदीबन्दी हुँदा थुनुवाहरु खचाखच स्थितिमा बस्न बाध्य छन्। क्षमताभन्दा बढी कैदीबन्दी भएकाले खानेपानी, शौचालयलगायतको समस्या छ भने वर्षौँदेखि जीर्ण भवनले कैदीबन्दीलाई बस्न समस्या छ। तीन हजार कैदीबन्दी राख्ने क्षमतासहित बाँकेको नौबस्तामा नौ बिघाको क्षेत्रफलमा निर्माणाधीन सुविधासम्पन्न क्षेत्रीय कारागार सञ्चालनमा अझै आउन सकेको छैन। “अर्थ मन्त्रालयले बजेट रोकेपछि क्षेत्रीय कारागार कहिले सञ्चालनमा आउँछ भन्ने कुराको कुनै टुङ्गो छैन”, जेलर शाहले भने, “बजेट रोकिदिएकाले कर्मचारी व्यवस्थापन हुन नसक्दा क्षेत्रीय कारागार सञ्चालनमा आउन सकेको छैन ।” जिल्लाको गनापुरमा भवन निर्माण भएको वर्षौँ बितिसक्दा खुला कारागार सञ्चालनमा आएको छैन। खुला कारागार सञ्चालन कार्यविधि बन्न नसक्दा सञ्चालनमा ढिलाइ भएको हो। कारागार सञ्चालन तथा व्यवस्थापनमा कानुनी अड्चनका कारण करोडौं  लगानी गरेर निर्माण गरिएका भौतिक संरचना त्यत्तिकै थन्किएको छ ।
पर्वतमा जिप दुर्घटना, एकको मृत्यु पर्वत। पर्वतको महाशिला गाउँपालिकामा गए राति जिप दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ। दुर्घटनामा अर्का एक व्यक्ति घाइते भएका छन्। सदरमुकाम कुश्माबजारबाट महाशिलातर्फ जाँदै गरेको ग२च ६९० नंको जिप महाशिला–५ काहुलेमा दुर्घटना भएको हो। दुर्घटनामा चालक महाशिला–४ धनुवासका ३७ वर्षीय ख्यामबहादुर विकको ज्यान गएको हो। दुर्घटनामा गम्भीर घाइते भएका विकको उपचारका लागि गण्डकी अस्पताल पोखरा लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक प्रकाश राउतले जानकारी दिए। दुर्घटनामा घाइतेको लुङ्खुदेउराली प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। उनको नाम ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।
बाँझो जमिनमा फलफूल खेती ढोरपाटन। युवाशक्ति विदेश पलायन हुन थालेपछि ग्रामीण क्षेत्रमा खेतीयोग्य जमिन वनमाराले ढाकिएका छन्। गाउँ सुनसान छन्। गाउँमा बस्ने पनि रोजगार र सेवा–सुविधा खोज्दै बजार झरिरहेका छन्। गाउँघरमा कुनै अवसर नदेखेर विदेश पलायन हुने तथा बजार झर्नेलाई गाउँमै रोक्न आवश्यक छ। बागलुङको तमानखोला गाउँपालिकाले भने यस वर्षदेखि बाँझो जमिनको सदुपयोग गरी स्थानीयलाई गाउँमै रोकी आयआर्जनसँग जोड्न फलफूल खेती गर्न थालेको छ। गाउँपालिकाले यस वर्षदेखि बाँझो तथा खाली जमिनमा फलफूल खेती गर्न सुरु गरेको हो। चालु आर्थिक वर्षमा वडा नं ४ मा एक हजार पाँच सय फलफूलका बिरुवा लगाइएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले जानकारी दिए। थोरै मेहनतबाट राम्रो उत्पादन दिने ओखर, स्याउ, उन्नत प्रजातिका आरु र किवीका बिरुवा लगाइएको उनको भनाइ छ। पालिकाले कृषकलाई फलफूल खेतीतर्फ आकर्षित गर्ने गरी ५० प्रतिशत अनुदानमा फलफूलका बिरुवा उपलब्ध गराएको छ। खासगरी बसाइँसराइ रोक्न र गाउँमै रोजगार सिर्जना गर्नका लागि गाउँपालिकाले यो अभियान सुरु गरेको उनको भनाइ छ। अध्यक्ष बुढामगर भन्छन्, “यस वर्षदेखि बाँझो जमिनलाई उपयोग गर्ने गरी फलफूलका बिरुवा लगाइएको छ, वडा नं ४ बाट सुरु गरेका छौँ, अर्को वर्षदेखि पालिकाभरि नै लगाउने योजना छ, आफ्नो बारीमा लगाउने कृषकलाई ५० प्रतिशत अनुदानमा बिरुवा दिइएको छ, यसको प्रतिफल आउन केही वर्ष लाग्न सक्छ तर यसले स्थानीयको वातावरणलाई स्वच्छ राख्नसमेत मद्दत पुग्ने छ।” व्यवसाय दर्ता गरेर कृषि कर्म गरिरहेका ४० कृषकले फलफूलका बिरुवा व्यावसायिकरूपमा उत्पादन गर्ने गरी बारीमा लगाएको अध्यक्ष बुढामगरको भनाइ छ। कृषि प्राविधिकद्वारा माटो परीक्षण गरी बाँझो जमिनमा बिरुवा लगाइएको उनले बताए। हिउँदे र बर्खे गरी दुई याममा बिरुवा उपलब्ध गराउने गरी पालिकाले बजेट विनियोजन गरेको गाउँपालिकाका कृषि शाखा प्राविधिक सन्देश पराजुलीले बताए। पहिलो चरणमा हिउँदे सिजनमा लगाउने बिरुवा उपलब्ध गराइसकिएको भन्दै अब बर्खे सिजनमा लगाउने बिरुवा जेठ महिनामा उपलब्ध गराइने पराजुलीको भनाइ छ। “अमिलो र फलफूल उत्पादन हुनसक्ने वातावरण र हावापानी भएको सम्भावना देखेर हामीले यो प्रयास गरेका छौँ”, उनले भने, “यहाँका केही कृषकले दुई वर्ष पहिले लगाएको स्याउको बिरुवा हुर्किसकेको र अबको एक–दुई वर्षमा उत्पादन दिन सक्ने देखिएको छ, यसले गर्दा पनि यहाँको हावापानीमा फलफूल खेती राम्रो हुने सम्भावना धेरै छ।” – रासस
गुण्डा नाइके चक्रे मिलनका बडी गार्ड गणेश बोगटी पक्राउ काठमाडौं। गुण्डा नाइके चक्रे मिलनका सहयोगी (बडी गार्ड) गणेश बोगटी पक्राउ परेका छन्। हतियारसहित चक्रे मिलनको सुरक्षामा खटिएको देखिएपछि बाँके प्रहरीले उनलाई चिसापानीबाट साँझ नियन्त्रणमा लिएको जनाएको छ। टिकटकमा मिलनको बडिगार्डका रुपमा हतियार प्रदर्शन गरेको भिडिओ सार्वजनिक भएपछि प्रहरीले उनको खोजी गरिरहेको जनाएको थियो। त्यसको सामाजिक सञ्जालमा चर्को आलोचना भएको थियो। ‘राति नै पक्राउ गरिहेको छ अनुसन्धान हुन बाँकी रहेको छ’, जिल्ला प्रहरी बाँकेका एसपी सन्तोषसिंह राठौरले भने। सोमबार उनी चक्रे मिलनको पछाडि हतियार बोकेर सामाजिक सञ्जालमा देखापरेका थिए। भिडिओमा चक्रेसँगै अन्य १०/१२ जना युवक देखिएपनि बोगटीले हतियार सहित सुरक्षा दिएका थिए। याे पनि पढ्नुस् एके ४७ को सुरक्षा घेरामा चक्रे मिलन, प्रहरी प्रशासनलाई चुनौती ! (भिडियाे)
थाहा पाउनुहाेस् आजको मौसम काठमाडौं। हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल देशका पहाडी भू-भागहरूमा आँशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने छ। राति भने देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने छ। गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका पहाडी भू-भागहरुका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरुमा र बाँकी प्रदेशको पहाडी भू-भागको एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन र चट्याङबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
१६ वर्षीया किशोरीले गरिन् आत्मदाह प्रयास सोलुखुम्बु । एक किशोरीले आत्मदाहको प्रयास गरेकी छन्  । जिल्लाको थुलुङ दूधकोशी गाउँपालिका–५ जुबुकी १६ वर्षीया सकुन्तला तामाङले आइतबार राति खुम्बु पासाङल्हामु गाउँपालिका–२ लुक्लामा आफ्नै शरीरमा आगो लगाई आत्मदाहको प्रयास गरेकी हुन् । किशोरीले राति साढे ८ बजे शरीरमा आगो लगाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक राम किशोर शाहले बताए । आगोले उनको शरीरको विभिन्न भाग जलेको प्रहरीले जनाएको छ । उनलाई बचाउन गएका किशोरीकी आमा राधा कुमारी राई तामाङ समेत सामान्य घाइते भएकी छन् । घाईते दुवै जनाको खुम्बु पासाङ ल्हामु गाउँपालिका–२ स्थित पासाङ ल्हामु निकोलनिकी अस्पतालमा उपचार भइरहेको जनाइएको छ । घटनाको कारण खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
२० हजार रुपैयाँ घुस लिएको आरोपमा इन्जिनियर पक्राउ काठमाडौं । सेवाग्राहीबाट २० हजार रुपैयाँ घुस लिएको आरोपमा प्रहरीले  सुनसरीको बर्जु गाउँपालिकाका इन्जिनियर अजयकुमार मेहता पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले मेहतालाई मोरङको विराटनगर महानगरपालिकास्थित पुलचोकबाट सोमबार नियन्त्रणमा लिएको हो । अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार इन्जिनियर मेहताले सेवाग्राहीबाट घरको नापनक्सा पास गरिदिने भन्दै घुस लिएका थिए ।
सजन बाग श्रेष्ठ भन्छन्- जिब्रो छेडी महाद्वीप बोकेर बोडे सहर घुम्ने प्रतीक्षामा छु भक्तपुर। मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने विश्व प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष पहिलो पटक बोडेका २७ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिने भएका छन्। आज श्रेष्ठले नाय पमाको घरमा पुगेर चार दाम चढाएर सगुन दिएर जिब्रो छेड्ने पक्का गर्नाका साथै आजदेखि व्रत प्रारम्भ गरेका छन् । श्रेष्ठले जात्राका नाय पमाः जलकृष्ण पिला श्रेष्ठ, अर्का पमा माइला भासिको श्रेष्ठ, कर्मी नाय कृष्णचन्द्र बाग श्रेष्ठ, बुद्धिबहादुर खड्गी, श्यामकृष्ण खड्गीलाई चार दाम चढाएर सगुन दिई जात्रामा जिब्रो छेड्ने पक्का गरेका हुन्। नवौँ पटक बोडेका ५० वर्षीय बुद्धकृष्ण बाग श्रेष्ठको कान्छो छोरा सुजनले यस वर्ष जिब्रो छेडाउने भएपछि चार दशक यो परिवारले जिब्रो छेडाउँदा पुस्तान्तरण भएको छ। कृष्णचन्द्र बाग श्रेष्ठले १२ पटक जिब्रो छेडाएपछि उनका भाइ बुद्धकृष्ण बाग श्रेष्ठ नौ पटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएकामा यस वर्ष बुद्धकृष्णका कान्छो छोराले पहिलो पटक जिब्रो छेडाएर जात्रालाई पुस्तान्तरणका रुपमा अगाडि बढाउँदै छन्। बुद्धकृष्णले भने, “मानवीय सेवा र कला संस्कृतिको संरक्षणमा लाग्दै आएको मैले यस गत वर्षसम्म नवौँ पटक जिब्रो छेडाए, मेरो दाजुले १२ पटक जिब्रो छेडाउनुभयो। यस वर्ष मेरो कान्छो छोराले जिब्रो छेडाउन आज चारदाम चढाएर पक्का गरेको छ, विश्व प्रसिद्ध यो जात्रा, यहाँको कला, संस्कृतिलाई अब मेरो छोराजस्ता अरू यहाँका युवा पुस्ताले जोगाउनुपर्छ। जात्रा लोप हुन दिनु हुँदैन।” आज चार दाम चढाएपछि जिब्रो छेड्ने व्यक्तिले अशुद्ध व्यक्तिलाई छुन नहुने, महिलालाई छुन नहुने, जुठो, सुतक परेको व्यक्तिलाई छुन नहुने, जुठो, नुन खान नहुने बोडे देश छाडेर बाहिर जान नहुने उनले बताए। जिब्रो छेड्ने व्यक्तिले तीन दिनअघि देखि भने केही नखाई व्रत बस्नुपर्छ। जिब्रो छेड्न तयार भएका युवा सुजनले आफू सानैदेखि बुबाले जिब्रो छेडेर जात्रा चलाएको हेर्दै आएको बताउँदै जात्रालाई जोगाउन आफूले यस वर्ष जिब्रो छेड्न तयार भएको बताए। उनले भने, “बुबाले जिब्रो छेडाउँदा मसँगै हुन्थे, उहाँले जात्रा, कला, संस्कृतिलाई जोगाएको देखेर मलाई पनि मनमा इच्छा जाग्यो र आँट आयो, म दुई वर्षदेखि नै जिब्रो छेड्न तयार थिए, यस वर्ष जुर्‍यो, मनमा डर छैन, २ गते कहिले आउँला र जिब्रो छेडाएर महादीप बोकेर बोडे देश घुमौँला भनेर प्रतीक्षामा छु।” उनले युवाहरुले नै संस्कृति बचाउनु पर्छ भन्ने सन्देश दिन र हरेक वर्ष जिब्रो छेडाउन युवाहरु तयार हुनुपर्छ भन्ने सन्देश दिन जिब्रो छेडाउन लागेको बताए। छोरोको रहरका बारेमा बुद्धकृष्णले भने, “मैले जिब्रो छेडाउँदा सानैदेखि छोरासँगै हुन्थ्यो, यो जात्रा जोगाउनुपर्छ, यो जात्रा नभए बोडेको पहिचान मेटिन्छ भन्ने मलाई मात्र होइन मेरो छोरालाई पनि लाग्यो, त्यसैले यस वर्ष उसले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिँदैछ, बोडेको संस्कृति जोगाउन अब हरेक वर्ष बोडेका युवाहरु तयार हुनुपर्छ।” जात्राका दिन व्रत बस्नेले जिब्रो छेड्नु अघि शक्ति प्राप्त होस् भन्ने कामनासहित बोडे क्षेत्रका विभिन्न देवीदेवताको पूजाआजा गर्ने र प्राचीन पाँचो गणेश मन्दिर परिसरमा हजारौँ भक्तजनको उपस्थितिमा जिब्रो छेड्ने प्रचलन छ। जिब्रो छेडिसकेपछि ती व्यक्तिले अर्धचन्द्राकार महादीप बोकेर बोडे सहर परिक्रमा गर्ने र बोडेकै महालक्ष्मी मन्दिरको परिक्रमापछि उक्त सुइरो जिब्रोबाट झिकेर महालक्ष्मी मन्दिरमै ठोकेर घाउमा महालक्ष्मी मन्दिरको माटो लगाउने प्रचलन छ। हालसम्म १२ जनाबाट निरन्तर एक सय आठ वर्ष जिब्रो छेडेका छन्। अहिलेसम्म विसं १९६९ देखि १९९० सम्म हर्कनरसिंह बासँश्रेष्ठले २२ पटक, विसं १९९१ देखि २०२२ सम्म बेखानारायण हायश्रेष्ठ ३२ पटक, २०२३ मा हरिदेव किलाश्रेष्ठले एक, २०२४ देखि २०२६ सम्म हरि भासिंक श्रेष्ठले तीन, २०२७ र २०२८ मा इन्द्र बाटा श्रेष्ठले दुई, २०२९ देखि २०३१ सम्म हर्केश्वर ब्याँ श्रेष्ठले तीन, २०३२ देखि २०३८ सम्म चन्द्रसेन द्यों श्रेष्ठले सात, २०३९ देखि २०४६ सम्म दीलकुमार खपे श्रेष्ठले सात, २०४७ मा मुनि घों श्रेष्ठले एक, २०४८ मा धर्मराज बलाय श्रेष्ठले एक, २०४९ देखि २०६० सम्म कृष्णचन्द्र बाग श्रेष्ठले १२ पटक, बुद्धकृष्ण बाग श्रेष्ठले २०६१ देखि २०६४ सम्म तथा २०७३, २०७५, २०७६, २०७८ गरी नौ पटक, जुजुभाइ बासँ श्रेष्ठले २०६५ देखि २०७२ सम्म आठ पटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिँदै आएका थिए।
मिटरब्याज पीडित र सरकारबीच भएको वार्ता विनानिष्कर्ष सकियो काठमाडौं। बिभिन्न माग राख्दै आन्दोलनरत मिटरब्याज पीडित र सरकारी प्रतिनिधिबीच भएको वार्ता विनानिष्कर्ष सकिएको छ। सोमबार गृहमन्त्रालयमा भएको वार्तामा दुवै पक्षले आ–आफ्ना धारणा राखेका थिए। असोज १ गते मिटरव्याज अपराध नियन्त्रण सिफारिस कार्यदल र मिटरव्याज किसान संघर्ष समितिबीच भएको पाँच बुदे सहमतिका बारे र कार्यान्वयनका बिषयमा छलफल भएको र अहिलेको ६ बुँदे मागको बिषयमा पनि छलफल भएको संघर्ष समितिका प्रवक्ता निर्ग नवीनले जानकारी दिए। उनले गृहमन्त्रालयले आन्दोलन रोक्नका लागि सहमति मात्रै गर्ने गरेको र कार्यान्वयन तहमा निकै फितलो गरेको बताए। नवीनले मिटरब्याजसँग सम्बन्धित सम्पूर्ण फर्जी लिखत मन्त्रीपरिषद् स्तरीय निर्णयबाट अवैध घोषणा गर्दै पीडितलाई क्षतिपूर्तीको व्यवस्था गर्नुपर्ने आफुहरुको प्रमुख माग गरेको बताए। त्यस्तै मिटरव्याजसंग सम्बन्धित मुद्धाको दर्ता तथा सम्पूर्ण अदालती प्रकृया स्थगित गर्नुपर्ने र फैसला भइसकेका मुद्धाको पुनरावलोकन गर्नुपर्ने उनले जानकारी दिए।
काठमाडौं महानगरभित्र सामुदायिक विद्यालयमा विद्यार्थी बढे काठमाडौं। काठमाडौं महानगरभित्रका सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पठनपाठन हुने भए पनि नयाँ भर्नाका लागि विद्यार्थी आउने क्रम बढेको छ। हाल कामपामा ८९ सामुदायिक विद्यालय छन्। जसमा ५० प्रतिशत विद्यालयमा अङ्ग्रेजी माध्यममा पठनपाठन हुन्छ। कम शुल्कमै अङ्ग्रेजी माध्यमका पढ्न पाएपछि विद्यार्थी आउने क्रम बढेको कामपा शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले जानकारी दिए। उनका अनुसार निजी विद्यालयमा कक्षा ५ सम्म अध्ययन सकेर ६ मा भर्ना हुन आउनेको सङ्ख्या बढी छ। “भर्नामा २५ प्रतिशत नयाँ विद्यार्थी देखिएका छन्, यसरी आउने विद्यार्थी कक्षा ६ देखि कक्षा आठ सम्मका छन्”, उनले भने। सामुदायिक विद्यालयबाट एसइई उत्तीर्ण गरेपछि उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति पाइने भएकाले विद्यार्थीको आकर्षण बढेको हो। नयाँ भर्नाका लागि विद्यार्थीको सङ्ख्या बढेपछि स्तरमापन गरेर मात्र भर्ना गर्ने तयारी भएको उनको भनाइ छ। यसका लागि नेपाली, अङ्ग्रेजी, विज्ञान, गणित र सामाजिक विषयको पाठ्यक्रममा आधारित स्तरमापन गरिने जनाएको छ। ती विषयबाट २०र२० अङ्क भारसहित जम्मा १०० पूर्णाङ्कको प्रश्न सोधिने छ। कामपामा रहेका ८९ सामुदायिक विद्यालयमध्ये ५९ माध्यमिक विद्यालय र ३० प्राथमिक विद्यालय छन्। ती विद्यालयमा ५२ हजार विद्यार्थीले अध्ययन गर्दछन्। साथै पाँच सय ४० निजी विद्यालयमा एक लाख २० हजार विद्यार्थी अध्ययनरत छन्। कामपाले यसवर्ष पहिलो पटक आफ्नो क्षेत्रभित्र सञ्चालित सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको एसइई नतिजा सुधारका लागि गणित, विज्ञान, अङ्गे्रजी, सामाजिक र नेपाली विषयका लागि शिक्षण सहजकर्ता नियुक्त गरी दुई महिना अतिरिक्त कक्षा सञ्चालन समेत गरेको थियो।
अवैध लागूऔषध चरेससहित ३ जना पक्राउ पर्सा। पटेर्वासुगौली गाउँपालिका-५ देउरियाबाट अवैध लागूऔषध चरेस १ सय १८ केजी र अवैध लागूऔषध गाँजा ४ केजीसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा पटेर्वासुगौली गाउँपालिका-५ बस्ने ६० वर्षीय प्रदेशी राउत (थारू), मकवानपुर रक्सीराङ गाउँपालिका-८ बस्ने ३८ वर्षीय रमेश मोक्तान र मकवानपुर मनहरी गाउँपालिका-६ बस्ने २५ वर्षीय रेशन मोक्तान रहेका छन्। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको संयुक्त टोलीले प्रदेशी राउतको घर तथा टहरा तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो। उनीहरू उपर लागूऔषध सम्बन्धी कसूरमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ।
जुवातास खेलिरहेको अवस्थामा २२ जना पक्राउ काठमाडौँ।  काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-८ मण्डिखाटार डेरा गरी बस्ने ४२ वर्षीया हेमा गुरुङको कोठामा जुवातास खेलिरहेको अवस्थामा गुरूङसमेत ९ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७० हजार रूपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो। झापा, कमल गाउँपालिका-३ केर्खा बजार बस्ने ३७ वर्षीय सुरेन राईको घरमा जुवातास खेलिरहेको अवस्थामा राईसमेत १३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमक र प्रहरी चौकी केर्खाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३५ हजार ६ सय रूपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
जीप दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते सुदूरपश्चिम। धनगढी–डडेलधुरा (भीमदत्त) राजमार्गअन्तर्गत कैलालीको चुरेपहाडी क्षेत्र फल्टुडे सडकखण्डमा गए राति भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा तीनजना घाइते भएका छन्। सुपप्र ०१००१ ज १४२३ नम्बरको जीप दुर्घटनामा घाइते भएका चुरे गाउँपालिका–६ का १८ वर्षीय भानु ठगुन्नाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताए। उपचारका लागि धनगढी ल्याउने क्रममा ठगुन्नाको बाटोमै मृत्यु भएको हो। दुर्घटनामा चुरे गाउँपालिकाकै प्रकाश धामी, हरिष धामीसहित तीन विद्यार्थीसमेत घाइते भएका छन्। घाइतेको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको छ। झण्डै ४५ किलोमिटरको दूरीमा रहेको अत्तरियास्थित दुर्गालक्ष्मी माध्यमिक विद्यालयमा एसइई परीक्षा दिएर घरतर्फ जाँदै गरेका उनीहरु जीप दुर्घटनामा परेका बताइएको छ। मृतक र घाइते चुरे गाउँपालिकाको मलकटेश्वर माविमा अध्ययनरत विद्यार्थी हुन्।
अलौकिक सुन्दरतासंगै बलियो प्रतिरक्षा, एशियन पेन्ट्स नेपालको नयाँ उत्पादनहरु अब बजारमा काठमाडौँ। एसियन पेन्ट्सले स्मार्टकेयर समूहका २ नयाँ उत्पादनहरु सिलिकन शिल्ड र हाइड्रोलक प्रस्तुत गरेको छ। हालै काठमाडौँमा आयोजना गरिएको एक समारोहमा २०० बढी डिलरहरुका माझमा कम्पनीले स्मार्टकेयर समूहका २ नयाँ उत्पादनहरु सिलिकन शिल्ड र हाइड्रोलक प्रस्तुत गरेको हो। जसले भित्ताहरुमा ओस र नुनियाको समस्याहरुलाई रोकथाम गर्छ। कम्पनीले अरु दुई उत्पादन रोयल प्ले समूहअन्तर्गत बारिक र स्टुको पनि सार्वजनिक गरेको छ। यी रोयल प्ले समूहका उत्पादनहरुले चाहिँ घरको इन्टेरियरको सजावटलाई आकर्षक बनाउने ग्राहकको सपनाहरु पूरा गरिदिन्छ। सिलिकन शिल्डकोे एक जलप्रतिरोधक तत्व हो। जसमा उत्कृष्ट पेनीट्रेटिभ फर्मुलेसन रहेको छ। यो इँटा, ढुंगा र क्ले टायलहरुका लागि अनुकूल छ। ग्राहकको घरको बाहिरी भित्ताहरुलाई नुनियादेखि जोगाएर भित्ताको स्वाभाविक सुन्दरतालाई कायमै राखिदिन्छ। त्यसैगरी हाइड्रोलक एक अर्को पेनीट्रेटिभ जलप्रतिरोधक सोलुसन हो। जुन प्लास्टर गरिएका भित्ताहरुलाई ओस र नुनियाबाट सुरक्षित राख्नका लागि प्लास्टर माथि लगाउन अत्यन्त उपयुक्त छ। रोयल प्ले बारिकले अरेबियन मरुभूमिहरुबाट प्रेरित रिच मेटालिक टेक्स्चर दिन्छ र यो ओसन वेभ र वोर्ल इफेक्टमा उपलब्ध छ। अर्कोतर्फ रोयल प्ले स्टुकोले प्रदान गर्ने फिनिसले तपाईंको भित्री भित्ताहरुमा मार्बलको अनुभूति दिलाउनेछ।
बसन्त चौधरीको पहिलो बालकविता संग्रह सार्वजनिक, नातिनीको नाममा ५६ कविता काठमाडौँ। ‘प्रेमिल कवि’को छवि बनाएका चर्चित कवि तथा गीतकार बसन्त चौधरीले आफ्नी नातिनी आहाना शाक्य(चौधरी)को जन्मदिनको दिन पारेर बाल कविता संग्रह ‘आहाना’ सार्वजनिक गरेका छन्। आइतबार ललितपुरको खुमलटारस्थित प्रिमियमर इन्टरनेशनल स्कूलको सभाहलमा आयोजित एक समारोहकाबीच कवि चौधरीले लेखेको बाल कविता संग्रह ‘आहाना’ विमोचन गरिएको हो। कवि चौधरीले आफ्नो साहित्यिक जीवनकै पहिलो बाल कविता संग्रह प्रकाशन गरेका हुन्। यसअघि उनका २० वटाभन्दा बढी कविता तथा गीतहरुका संग्रह प्रकाशित भइसकेका छन्। दर्जनौं चर्चित नेपाली गीतहरुका उनी सर्जक समेत हुन्। कवि चौधरी, उनी पुत्री मेघा चौधरी, नातिनी आहाना शाक्य(चौधरी) तथा आहानाका पिता पारस शाक्य र बालबालिकाहरुले बालकविता संग्रह ‘आहाना’को सामूहिक लोकार्पण गरेका थिए। आकर्षक साजसज्जासहितको रंगीन कलेवरमा प्रकाशन गरिएको बाल कविता संग्रह नेपाली र अंग्रेजी दुवै भाषामा उपलब्ध छ। ‘कोपिला किताब’ले प्रकाशन गरेको आहानामा चौधरीका ५६ वटा बालकविताहरु समेटिएका छन्। प्रत्येक कवितासँगै कलाकार भानु भट्टराईले तयार पारेको आकर्षक चित्रांकन समेत समेटिएकाले बालकविता संग्रह निकै आकर्षक छ। कविता संग्रह विमोचन समारोहमा बोल्दै कवि बसन्त चौधरीले आफू निकै खुशी भएको उल्लेख गर्दै भने–‘यस्तो लागिरहेछ कि बसन्तको आगमन फेरि भएको छ। मन प्रफूल्लित छ।’ उनले आफ्नी नातिनीलाई सानैदेखि हेरेको र उनको उमेर बढेसँगै आफूले देखेको, भोगेका र नातिनीसँग बिताएका क्षण तथा नातिनीजस्तै भएर लेखिएका कविताहरुलाई संग्रहको रुप दिएको बताए। कविता संग्रह आहाना आफ्नी नातिनीको प्रतिबिम्ब समेत भएको उनको भनाई थियो। उनले बालसाहित्यको महत्वको विषयमा समेत आफ्ना धारणा राखेका थिए। ‘बाल साहित्य मेरो नियमित विधा होइन । यो मेरो पहिलो प्रयास हो।’ उनले भने –‘मैले विभिन्न देशको भ्रमण गर्दा त्यहाँ बाल साहित्यले हासिल गरेको उचाई देख्दा डाह लाग्थ्यो । नेपालमा के कारणले बाल साहित्य पछाडि परेको छ, त्यो बुझ्न सकिरहेको छैन।’ कवि चौधरीले बाल साहित्यले नेपालमा उचाई हासिल नगरे पनि बाल साहित्यको विषयमा संस्थागत कामहरु भएका भन्दै त्यस्तो काम गर्ने सबै सर्जकप्रति आभार व्यक्त गरे। ‘लगानी गरेर बालसाहित्य वा कृति प्रकाशन गर्दा रिटर्न आउँदैन।’ उनले भने–‘तर बाल साहित्यलाई व्यापार भन्दा पनि एउटा आन्दोलनको रुपमा लिनुपर्छ।’ बालबालिकालाई रचनात्मक कुराहरु कविता र गीतबाट सिकाउन सकिए त्यसले निकै ठूलो परिवर्तन गर्ने र बाल मानसपटलमा सिर्जनात्मक कुराहरुको बास हुने उल्लेख गर्दै विश्वभर शिक्षामा परिवर्तन भइरहँदा नेपालमा पनि हुनुपर्ने र सिकाईको माध्यमको रुपमा कविता र गीतहरुलाई पनि समावेश गरिनुपर्नेमा उनको जोड छ। कार्यक्रममा बोल्दै स्कूलकी डाइरेक्टर पवित्रा लिम्बूले कवि बसन्त चौधरीले आफ्नी नातिनीलाई जन्मदिनको दिन विशेष गिफ्ट दिएका उल्लेख गर्दै भनिन्–‘हजूरबुबाबाट यस्तो गिफ्ट आयो कि सबैलाई बाँड्न मिल्ने ! अब आजदेखि बसन्त चौधरी आहानाको मात्र होइन, देशभरका बालबालिकाहरुको पनि हजूरबुबा बन्नुभयो।’ उनले चौधरीले नेपालको बालसाहित्यको उन्नयनका लागि निकै ठूलो गिफ्ट गरेको समेत सो क्रममा बताइन्। उनले अनाथ बालगृहका बालबालिकाहरुलाई बोलाएर सकेको सहयोग समेत गरी जन्मदिन मनाउनु अनुकरणीय रहेको उल्लेख गर्दै थपिन्–‘यस्तो जन्मदिन आइरहोस्।’ सो क्रममा आहानाले आफ्नो जन्मदिन अनाथ बालगृहका बालबालिकासँग मनाएकी थिइन्। ती बालबालिकालाई उनले स्कूल ब्याग समेत वितरण गरेकी थिइन्। कार्यक्रममा बालबालिकाहरुले कविता संग्रहका केही कविता वाचन पनि गरेका थिए।
दुर्घटनामा छोरीको मृत्यु, बुबा घाइते सप्तरी। सप्तरीको खडक नगरपालिका–७ कल्याणपुर बजारमा गए राति मोटरसाइल दुर्घटना हुँदा छोरीको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गस्थित कल्याणपुर बजारमा को१५प १९१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा त्यसमा सवार उदयपुरको त्रियुगा नगरपालिका–९ बगाहा टोलकी १० वर्षीया एञ्जिला बस्नेतको मृत्यु भएको हो। मोटरसाइकल चालक मृतकका बुबा ३६ वर्षीय ध्रुव बस्नेत घाइते भएका छन्। घाइते एञ्जिलाको छिन्नमस्ता अस्पताल, राजविराजमा उपचारका क्रममा गए राति मृत्यु भएको प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए। घाइते ध्रुवको उपचार भइरहेको छ। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा३च ५२९३ नम्बरको कारले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय कल्याणपुरले कारका चालकलाई नियन्त्रणमा लिएको छ।
भक्तपुरमा आजवाट बिस्केट जात्रा सुरु, नौ दिनसम्म चल्ने भक्तपुर। भक्तपुरको बिस्केट (बिस्काः) जात्रा आज साँझबाट सुरु हुँदैछ। आठ रात नौ दिनसम्म मनाइने यो जात्रा आजबाट सुरु हुन लागेको हो। जिब्रो छेडने जात्राको रुपमा पनि यो जात्रा चर्चित छ। सोमबार साँझ टौमढीस्थित पाँचतले मन्दिर अगाडिबाट भैरवनाथको रथ तानातान गर्दै जात्राको सुरूवात गरिने प्रचलन रेको छ। जसअनुसार जात्राको पहिलो दिन भैरवनाथसहित भद्रकालीको पनि रथ तानिने गरिन्छ। साे रथमा भैरवनाथ मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतले मन्दिर प्राङ्गणबाट माथिल्लो र तल्लो क्षेत्रमा रथ तानेर लैजाने परम्परा छ। टौमढीबाट करिब २०० मिटर दक्षिण गःहिटी पु‍र्‍याए पछि पहिलो दिनको जात्रा सम्पन्न हुने प्रचलन रहँदै आएको छ। लिच्छविकालदेखि सुरु भएको जात्रा नयाँ वर्षको अर्थात् वैशाख १ गतेभन्दा चार दिनअघि सुरु हुन्छ भने वैशाख ५ गते पनि भैरवनाथको नै रथ तानेर समापन गरिने प्रचलन रहेको छ।
कैलालीमा जिप दुर्घटना, एकको मृत्यु धनगढी। कैलालीमा आइतबार सु.प प्र ०१००१ ज १४२३ नम्बरबको जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। चुरे गाउँपालिकाको-६ भिमदत्त राजमार्ग अन्र्तगत फल्टुँडेमा जिप दुर्घटना हुँदा भएको हो। चुरे गाउँपालिका-६ का वर्ष १८ का भानु ठकुन्नाको निधन भएको हो। मेलकट्टेश्वर मावि चुरे-६ कैलालीमा अध्ययनरत ठगुन्नाको अत्तरियास्थित दुर्गालक्ष्मी मावि केन्द्रमा एसईई परीक्षामा सम्मिलित भई घर फर्कने क्रममा जिप दुर्घटनामा परेर निधन भएको प्रहरीले जनाएको छ। यस्तै दुर्घटनामा वर्ष १७ का हरिश धामी,वर्ष १८ की सरस्वती र वर्ष १६ का प्रकाश धामी परि घाइते भएका छन। घाइतेहरूको पदमा अस्पतालमा उपचार भइरहेको छ। इलाका प्रहरी कार्यलय फलटुडेका अनुसार घाइतेहरू पनि एसईई दिइएर घर फकिरहेका मेलकट्टेश्वर माविकै विद्यार्थी हुन्। जिपको स्टेरिङ्ग कन्ट्रोल गर्न नसक्दा नालिमा ठोक्किएर गाडि दुर्घटना भएको खुलेको छ। गाडि चालक नरसिँ धामीलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ।
आजको मौसमः पहाडी भू-भागमा आंशिक बदली रहने काठमाडौं। हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ। दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। गण्डकी प्रदेशको एक दुई स्थानमा मेघ गर्जन रचट्याङ्ग सहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ। राति भने देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरुमा र बाँकी प्रदेशको पहाडी भू-भागको एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन र चट्याङबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
दुर्गममा आँखा उपचार सेवा आवश्यक छः उपराष्ट्रपति यादव काठमाडौं। उपराष्ट्रपति रामसहायप्रसाद यादवले देशका दुर्गम क्षेत्रमा आँखा उपचारको पहुँच पुर्‍याउन सबै क्षेत्र लाग्नुपर्ने बताएका छन्। आज यहाँ नेपाल आँखा अस्पतालको स्वर्ण महोत्सव उद्घाटन समारोहमा उनले अन्धोपनको न्यूनीकरण र आँखा सेवा विस्तारमा केही सफलता हासिल भए पनि दुर्गममा सेवा विस्तार अझै चुनौतीका रुपमा रहेको बताएका हुन्। उपराष्ट्रपति यादवले भने, “अन्धोपनको प्रतिशतमा कमी देखिए पनि नेपालको जनसङ्ख्या एवं ज्येष्ठ नागरिकको सङ्ख्यामा भएको बढोत्तरीले आँखाको सेवा विशेषगरी दुर्गम क्षेत्रमा अझै चुनौतीका रुपमा रहेको छ।” नेत्रज्योति सङ्घको सर्वेक्षणअनुसार नेपालमा अन्धोपनको स्थिति सन् १९८१ को शून्य दशमलव ८४ प्रतिशतबाट घटेर सन् २०२० मा शून्य दशमलव शून्य २८ प्रतिशतमा झरेको हो। तर दुर्गममा आँखासम्बन्धी समस्या अझै रहेको भन्दै त्यहाँ सेवा विस्तार गर्न उनले सरोकारवाला सबैलाई आग्रह गरे। उनले भने, “यसका लागि सरकार, गैरसरकारी र निजी क्षेत्रबाट थप प्रयास गर्नुपर्छ।” उनले नेपाल आँखा अस्पतालले विश्व स्वास्थ्य सङ्गठनको निर्दिष्ट सन् २०३० सम्म आँखा सेवामा निर्धारण गरेको लक्ष्य राष्ट्रिय रुपमा हासिल गर्न नेपाल सरकारसँग सहकार्य गरी अघि बढ्न प्रतिबद्ध भएको बताए। उनले आँखा उपचार सेवा, जनशक्ति उत्पादन एवं सामुदायिक कार्यक्रमबाट अन्धोपन न्यूनीकरणमा सबै आँखा अस्पतालले महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसासमेत गरे। अस्पतालका पूर्वअध्यक्ष प्राडा रामप्रसाद पोखरेलले नेपाल आँखा उपचारका लागि स्वास्थ्य पर्यटनको केन्द्रका रुपमा प्रगति गरेको बताए। उनले भने, “५० वर्षअघि मोतिविन्दुको उपचारका लागि भारत जानैपर्ने बाध्यता थियो। अहिले भारतबाट नेपाल आउने सेवाग्राहीको घुइँचो छ, यो प्रशंसनीय प्रगति हो।” विसं २०३० चैत २६ गते त्रिपुरेश्वरमा निर्माण भएको नेपाल आँखा अस्पतालले स्थापनाको ५०औँ वर्षका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेको छ। अस्पतालका अध्यक्ष डा गोपालप्रसाद पोखरेलका अनुसार अस्पतालले स्थापनायता ३१ लाख ८२ हजार पाँच सय ७९ जनालाई सेवा उपलब्ध गराएको छ। यस्तै, एक लाख २५ हजार तीन सय ७९ जनाको आँखाको शल्यक्रिया गरिएको छ। घरदैलो कार्यक्रमबाट १५ लाखले आँखा उपचार सेवा लिएका छन्। अहिले १४ जना नेत्र विशेषज्ञ रहेको अस्पतालमा कर्निया, मोतिविन्दु, जलविन्दु, रेटिना, अकुलोप्लाष्टी एवं बाल आँखा उपचारको सेवा उपलब्ध छ। दैनिक सात सयजना बिरामीले बहिरङ्ग सेवा लिने गरेका छन्। अस्पतालले विभिन्न समयमा विद्यार्थीको आँखा परीक्षण र चस्मा निःशुल्क वितरणसमेत गर्दै आएको छ।
ईशनाथ नगरपालिकाका तत्कालीन प्रशासकीय अधिकृतविरुद्ध डेढ करोडको भ्रष्टाचार मुद्दा काठमाडौं। ईशनाथ नगरपालिका रौतहटका तत्कालीन नि.प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ताविरुद्ध डेढ करोडको भ्रष्टाचार मुद्दा दायर भएको छ। आइतबार एक करोड ४९ लाख ९७ हजार ८६३ बिगो दाबी गर्दै विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए।
जनशक्ति उत्पादन र व्यवस्थापनमा ध्यान दिनुपर्छः सञ्चारमन्त्री शर्मा काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी निकायका लागि दक्ष जनशक्ति उत्पादन र व्यवस्थापनमा ध्यान दिनुपर्ने बताएकी छन्। उनले सरकारी कार्यालयहरूमा दक्ष जनशक्ति भित्र्याउन समस्या भइरहेकाले जनशक्ति व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने अवस्था आएको बताइन्। उच्चस्तरीय कार्यदलले तयार पारेको सरकारी एकीकृत डाटा केन्द्रबाट प्रवाह हुने सेवा सम्बन्धमा विस्तृत अध्ययन प्रतिवेदन आज ग्रहण गर्दै सरकारका प्रवक्तासमेत रहेकी मन्त्री शर्माले सूचना प्रविधिको क्षेत्रलाई सञ्चालन गर्ने जनशक्ति अभाव रहेको बताइन्। “हामीसँग उपकरण छ तर दक्ष जनशक्ति छैन। त्यसले गर्दा ठूलो समस्या सिर्जना भएको छ। सरकारी निकायमा सूचना प्रविधिमा दक्ष जनशक्ति कसरी भित्र्याउने र भएको जनशक्तिलाई कसरी दक्ष बनाउने भन्ने चुनौती देखिएका छन्। त्यसमा हामीले प्राथमिकताका साथ गृहकार्य गर्नुपर्ने छ”, उनले भनिन्। सूचना प्रविधि निरन्तर बदलिरहने क्षेत्र भएकाले त्यसमा कार्यरत जनशक्तिलाई नियमित तालिम प्रशिक्षणमार्फत बदलिँदो प्रविधिसँग ‘अपडेट’ गराउनुुपर्नेमा मन्त्री शर्माको जोड छ। भौतिक सुरक्षाजस्तै साइबर सुरक्षा पनि अनिवार्य पक्ष बन्न गएकाले सरकारले साइबर सुरक्षा कार्यक्रम सबै निकायमा लागू गरेर लैजाने योजना बनाएको उनले जानकारी दिइन्। मन्त्री शर्माले प्रतिवेदनमा आएका विषयवस्तुलाई सरकारको आगामी नीति तथा कार्यक्रम र बजेटमा समेट्ने प्रतिबद्धतासमेत व्यक्त गरिन्। साइबर सुुरक्षा धेरै नै महत्वपूर्ण भए पनि नेपाल त्यसमा पछाडि रहेको स्वीकार्दै उनले आफूले पद सम्हालेकै समयदेखि त्यसलाई महत्वका साथ लिएको बताइन्। मुलुक सञ्चालनका लागि राजस्व सङ्कलनदेखि राष्ट्रियताको रक्षा गर्नेसम्मका काममा सूचना प्रविधि महत्वपूर्ण रहेको र त्यसको सुरक्षा प्राथमिक ‘एजेन्डा’ भएकाले गत फागुन १५ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार गठन गरिएको उच्चस्तरीय कार्यदले २६ दिनमै प्रतिवेदन दिएको छ। मन्त्रालयका सचिव कृष्णबहादुुर राउतले साइबर सुरक्षा र सेवा प्रवाहलाई सहज बनाउन संरचनात्मक परिवर्तन आवश्यक रहेको बताउँदै प्रतिवेदनलाई योजनाबद्धरुपमा कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरे। सेवा प्रवाहको माध्यम विद्युतीय भएकाले साइबर सुरक्षामा जोड दिनुपर्ने अवस्था आएको उनले स्पष्ट पारे। उच्चस्तरीय समितिका संयोजक जुद्धबहादुर गुरुङले तत्कालीन र दीर्घकालीनरुपमा लागू गर्नेगरी प्रतिवेदनमा राय सुुझाव दिइएको बताए। समितिलाई साइबर सुरक्षाका क्षेत्रमा नीतिगत, कानुनी, संरचनागत र प्रक्रियागत सुझावसहित प्रतिवेदन तयार पार्ने कार्यादेश दिइएको थियो। सूचना प्रविधि विज्ञ गुरुङको संयोजकत्वमा रहेको कार्यदलको सदस्यमा विज्ञहरू बाबुराम दवाडी, सरोज लामिछाने, मोना न्याछो, प्रकाश रायमाझी र विजय गौतम रहेका थिए। कार्यदल सदस्यमा नेपाल प्रहरी र नेपाली सेनाका विज्ञहरू सदस्यका रुपमा रहेका थिए भने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रतिनिधिका रुपमा सहसचिव अनिलकुमार दत्त रहेका थिए।
बढुवा भएका चारजना एआईजीलाई दर्ज्यानी चिह्न प्रदान काठमाडौं। प्रहरी नायव महानिरीक्षक(डिआईजी)बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)पदमा बढुवा भएका चारजनालाई आइतबार दर्ज्यानी चिह्न प्रदान गरिएको छ । २४ चैतमा बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा भएका सन्दिप भण्डारी, सुदिप गिरी, मिरा चौधरी र टेकबहादुर तामाङलाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले उनीहरुलाई दर्ज्यानी चिह्न प्रदान गररेका हुन् ।
विस्केट जात्राको लागि रथ निर्माण अन्तिम चरणमा {भिडियो} भक्तपुर। भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने ऐतिहासिक विस्केट जात्राको लागि रथ निर्माण अन्तिम चरणमा पुगेको छ । भक्तपुरको ऐतिहासिक तथा साँस्कृतिक विस्केट जात्रा सुरु हुँनै लाग्दा रथ निर्माण अन्तिम चरणमा पुगेको हो । भक्तपुरको प्रसिद्ध पाँचतल्ले मन्दिर टौमढी अगाडि राखेर बनाइएको भैरबनाथको रथ तान्ने क्रमको सुरुवातसँंगै जात्रा सुरु हुनेछ । प्रत्येक नयाँवर्षमा भक्तपुरवासीले नौ दिन आठ रातसम्म परम्परागत तान्त्रिक विधिअनुसार मनाउने बिस्केटजात्रा यस वर्ष चैत २७ गतेदेखि सुरु हुदैछ । प्रत्येक वर्ष नयाँं वर्षको चार दिन अगाडिदेखि प्यागोडा शैलीमा बनाइएको तीन तल्ले भैरबनाथको रथ तान्ने क्रमसँंगै जात्रा प्रारम्भ हुने प्रचलन रहिआएको छ । भैरबनाथको रथ तानेर सुरु हुने जात्रा वैशाख ५ गते पाँंचतल्ले मन्दिर अगाडि नै रहेको भैरबनाथको रथलाई तानेर सम्पन्न हुने गर्दछ । भक्तपुरको विस्केट जात्राको मुख्य आकर्षण ५५ हात लामो लिंगो उठाउनु, ढाल्नु र रथ तान्नु रहेको छ । साथै मध्यपुर थिमिमा मनाइने सिन्दुरे जात्रा र जिव्रो छेड्ने जात्रा पनि प्रख्यात छ । हेर्नुहोस् भिडियो:
जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ काठमाडौँ। जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका-१ टुकुचा गैरिधारा र टोखाबाट जुवातास खेलिरहेको अवस्थामा ११ जनालाई पक्राउ गरेको हो। काठमाडौं महानगरपालिका-१ टुकुचा गैरिधारास्थित शान्ति श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका टुकुचा बस्ने ४४ वर्षीय दिपक मानन्धर समेत ७ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७२ हजार ९ सय ८५ रुपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो। यसैगरी काठमाडौं, टोखा नगरपालका-७ धपासीस्थित कबिता घलेको कोठामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३८ वर्षीया मच्चा गुरुङसमेत ४ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५ हजार रुपैयाँ र ६ बुक ताससहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
हेली एभरेष्टको हेलिकप्टर दुर्घटना काठमाडौं । धौलागिरि बेस क्याम्प नजिकै हेलि एभरेष्टको हेलिकप्टर दुर्घटना भएको छ । पोखराबाट सामान लिएर धौलागिरि बेस क्याम्प गएको हेलिकप्टर दुर्घटना भएको हो । दुर्घटनामा परेकओ पाइलट सकुशल रहेको र उनलाई उद्धार गरेर ल्याउने प्रयास भइरहेको छ । हेलिकप्टर कार्गो लिएर गएको थियो र यसलाई पाइलट प्रिया अधिकारीले उडाउँदै थिइन् । हेलिकप्टरमा पाइलट अधिकारी एक्लै रहेको बताइएको छ । हेलिकप्टर सम्पर्कविहीन भएपछि खोजिका लागि एयर डाइनेस्टीको अर्को हेलिकप्टर पठाइएको थियो । खोजिका लागि गएको हेलिकप्टरले हेलि एभरेष्टको हेलिकप्टरलाई दुर्घटनाग्रस्त अवस्थामा फेला पारेको थियो ।
पूर्वी नाकामा कोरोनाविरुद्ध उच्च सतर्कता झापा। पूर्वी नाका काँकडभिट्टाबाट कोभिड-१९ का सङ्क्रमित भित्रिन नदिन उच्च सतर्कता अपनाउन थालिएको छ। भारतलगायत तेस्रो मुलुकबाट प्रवेश गर्ने विदेशी नागरिकको स्वास्थ्य परीक्षण अनिवार्य गरिएको छ। भारतीय भूमिमा एक साताभन्दा बढी समय बसेर नेपाल फर्किने खोप कार्ड नभएका नेपाली नागरिककोसमेत नाकामा स्वाब परीक्षण अनिवार्य गरिएको यहाँस्थित हेल्थ डेस्ककी ल्याब असिस्टेन्ट रक्षा देउजाले बताए। उनका अनुसार हेल्थ डेस्कले विगतदेखि नियमित निगरानी गर्दै आएको भए पनि भारत र नेपालमा कोभिड-१९ को नयाँ भेरियन्टका सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढ्न थालेपछि नाकामा सतर्कता उच्च बनाइएको हो। नेपाल प्रवेश गर्ने विदेशी नागरिकको स्वाब परीक्षण र सबै आगन्तुकको सोधपुछ अनिवार्य गरिएको उनले जानकारी दिए। चैत महिनामा यो नाकामा गरिएको स्वाब परीक्षणबाट कसैलाई पनि कोभिड-१९ को सङ्क्रमण देखिएको छैन। दुई वर्षअघि स्थापना गरिएको हेल्थ डेस्कमा सात जना कर्मचारी कार्यरत छन्। दैनिक एक सयभन्दा बढीको स्वाब परीक्षण भइरहेको उनले जानकारी दिए। दुई महिनाभन्दा बढी भारतमा काम गरेर फर्किएका नेपाली, नेपालका उद्योगमा काम गर्न आउने भारतीय नागरिक र तेस्रो मुलुकबाट नेपाल प्रवेश गर्ने पर्यटकलाई प्राथमिकतामा राखेर दैनिक स्वाब जाँच गरिरहेको उनले बताए। भारतमा कोभिड सङ्क्रमण बढेसँगै यहाँ पनि जाँचलाई तीव्र बनाइएको छ। नाकामा कोभिड परीक्षणको चाप बढ्दै गएकाले कर्मचारी अभाव हुने देखिएको छ। सीमामा स्वास्थ्य जाँचका लागि कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयबाट एक जना, मेचीनगर नगरपालिकाबाट चार र स्वास्थ्य कार्यालयबाट दुई जना गरी हाल सात कर्मचारीले सेवा दिइरहेका छन्। हेल्थ डेस्ककी असिस्टेन्ट देउजाले नगरपालिकालाई थप तीन कर्मचारी पठाइदिन माग गरिएको बताए।
आत्महत्या दुरुत्साहनमा पक्राउ पुर्जी जारी भएपछि नेपाल इन्भेष्टमेन्ट बैंकका सुरक्षागार्ड भारत फरार काठमाडौँ। आफ्नै भिनाजुलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा अदालतबाट पक्राउ पुर्जी जारी भएका नेपाल इन्भेष्ट्मेन्ट बैंक कञ्चनपुर शाखाका सुरक्षागार्ड उदिप नेपाली भारत फरार भएका छन्। सोमबार कैलाली जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएकोमा शनिबार उनी भागेर भारतको नयाँ दिल्ली पुगेका हुन्। आतबार बिहानै उनले सामाजिक सञ्जालमार्फत आफू भारतको नयाँ दिल्लीमा रहेको जानकारी साझा गरेका छन्। सशस्त्र प्रहरीका पूर्व हवल्दारसमेत रहेका नेपाली पक्राउ पर्ने डरले भारत भागेका हुन्। गत चैत्र ३ गते उनका भिनाजु कैलालीस्थित आफ्नै निवासमा झुन्डिएको अवस्थामा मृत फेला परेका थिए। मृत भिनाजुले आफूलाई मर्न बाध्य पारेको भन्दै उदिपसहित उदिपकी श्रीमती सीमा नेपाली, उनको दाइको छोरा मन नेपाली र मृतककी श्रीमती खिरु नेपाली र डिभिजन वन कार्यालय भजनीमा कार्यरत भिमे भन्ने भीम बिकको नाम लेखेर छाडेको सुसाइड नोट प्रहरीले फेला पारेको थियो। कैलालीको भजनीस्थित ईलाका प्रहरी कार्यलयमा अभियुक्तहरु विरुद्ध किटानी जाहेरी दर्ता भएको छ  भने हालसम्म दुईजना आरोपी पक्राउ परेको ईलाका प्रहरी कार्यालय भजनीले जनाएको छ ।
राइटपाथ करियर काउन्सिलिङको ब्राण्ड एम्बेस्डरमा पूर्व मिस नेपाल अस्मि श्रेष्ठ काठमाडौँ। मिस नेपाल वर्ल्ड २०१६ अस्मि श्रेष्ठ राइटपाथ करियर काउन्सिलिङको ब्राण्ड एम्बेस्डर बनेकी छिन्। शुक्रबार हात्तीसार स्थित अरन्या बुटिक होटेलमा आयोजित सम्झौता कार्यक्रममा ब्राण्ड एम्बेस्डर बन्ने समझदारी पत्रमा हस्ताक्षर भए सँगै उनी औपचारिक रूपमा राइटपाथकी ब्राण्ड एम्बेस्डर बनेकी हुन्। यस अघिकी ब्राण्ड एम्बेस्डर पुजा शर्माको कार्यकाल सकिए सँगै संस्थाले अस्मिलाई नयाँ ब्राण्ड एम्बेस्डरका रूपमा भित्राएको हो। सम्झौता कार्यक्रममा स्वागत मन्तव्य राख्दै राइटपाथका कर्पोरेट म्यानेजर प्रवेश जीशीले उपस्थित सबैलाई धन्यवाद दिए। सन् २०१६ देखि निरन्तर गुणस्तरीय परामर्शको सारथी बन्दै आएको भन्दै उनले अस्मि श्रेष्ठ जस्तो व्यक्तित्वलाई सद्भावना दूत बनाउन पाउँदा गौरवको महसुस भएको बताए। जिसीले राइटपाथको आगामी यात्रा उनी सँगको सहकार्यका कारण अझै सफल हुने विश्वास व्यक्त गरे। कार्यक्रममा बोल्दै इक्यानका पूर्व अध्यक्ष विष्णुहरि पाण्डेले व्यक्तिगत र इक्यानका तर्फबाट शुभकामना दिए । आफूले दुई दशक अघि देखि यो क्षेत्रमा बसेर हेर्दा सही समयमा सही निर्णय गर्ने संस्थाका रूपमा राइटपाथलाई पाएको भन्दै उनले गुणस्तरीय सेवाका लागि संस्थाले जसरी आफूलाई स्थापित गरेको छ त्यो अझै कायम रहोस् भन्ने शुभकामना दिए। ब्रान्ड एम्बेस्डर बनेपछि उक्त कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मिस नेपाल अस्मि श्रेष्ठले राइटपाथले आफूलाई विश्वास गरेकोमा धन्यवाद दिइन्। आफू मिस नेपाल बनिसकेपछि फेसन मोडलका रूपमा कार्यरत रहेको र इन्टेरियर डिजाइनर समेत भएको बताएकी उनले आफू पनि सहिमार्ग (राइटपाथ) मा हिँड्न खोजेको बेला संस्था सँग जोडिएको भनाई राखिन्। कुनै ब्राण्ड सँग जोडिनु अघि आफूले अध्ययन गरेर मात्रै निर्णय गर्ने गरेको र राइटपाथले नैतिकता सहितको व्यवसाय गरिरहेको पाएकाले मात्रै आबद्ध भएको उल्लेख गरिन्। गुणस्तरीय परामर्श दिने कामलाई अझै अगाडी लाने र यो सहकार्यले थुप्रै माइलको यात्रा तय गर्ने प्रतिबद्धता उनले व्यक्त गरिन्। राइटपाथका फाउन्डर सिइओ फिलिप डिसीले अस्मि श्रेष्ठलाई ब्राण्ड एम्बेस्डरका रूपमा जोडिएकोमा धन्यवाद दिए। उनले आफ्ना मेहनती कर्मचारीहरू तथा सबै शुभचिन्तकहरूको साथका कारण संस्था यो स्थानमा आइपुगेको भन्दै निरन्तरको साथ सहयोगका लागि आभार प्रकट गरे। गुणस्तरीय शिक्षाका लागि उचित परामर्श भन्ने नारा लिएर स्थापना भएको र आजसम्म नारा अनुसारकै काम गर्दै आएको उनको दाबी थियो। अस्मि श्रेष्ठ सँगको सहकार्यले आगामी एक वर्ष भित्र विभिन्न गतिविधिहरू हुने र त्यसले विद्यार्थीलाई फाइदा पुग्ने विश्वास आफूले लिएको उनको भनाइ थियो। पुतलीसडक काठमाडौँमा प्रधान कार्यालय रहेको राइटपाथ करियर काउन्सिलिङको ९ वटा शाखा कार्यालय रहेका छन्। राइटपाथ विश्वका विभिन्न मुलुक अध्ययन गर्न जाने नेपाली विद्यार्थीहरूको भरपर्दो परामर्श दाता संस्था हो।
दिदीबहिनी मृत फेला घटना : सात जना प्रहरीको नियन्त्रणमा रुकुमपूर्व। रुकुमपूर्वमा प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको छ। पुथा उत्तरगङ्गा गाउँपालिका–३ रन्मामा बिहीबार दुई बालिकाको शव भेटिएपछि सो घटनाको अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको हो। यही चैत २२ गते सिस्नो टिप्न घरबाट निस्किएका एकै घरका दिदीबहिनीको चैत २३ गते गाउँ नजिकैको भिरमा शव भेटिएको थियो। एघार वर्षीया रिना बुढामगर र नौ वर्षीया कालिमाया बुढामगरलाई हत्या गरेर भिरमा फालिएको आशङ्कामा प्रहरीले शंकास्पद सात जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक अञ्जना श्रेष्ठले जानकारी दिइन्। दुवै जनाले लगाएको गहना लुटपाट भएकाले उनीहरुको हत्या गरिएको हुनसक्ने आशङ्का गरिएको छ। दुवै बालिकाको शनिबार शव रुकुमकोट ल्याएर परीक्षण गरिएको प्रहरीले जनाएको छ। अनुसन्धानका क्रममा रहेकाले पक्राउ परेकाको नाम ठेगाना प्रहरीले खुलाएको छैन।
गरगहना लुटपाट गर्ने उद्देश्यका साथ रुकुममा दुई बालिकाको हत्या काठमाडौं । सुनका गरगहना लुटपाट गर्ने उद्देश्यका साथ रुकुममा दुई बालिकाको हत्या भएको छ। पूर्वी रुकुममा सुनको लोभमा दुई बालिकाको हत्या भएको प्रहरीले जनाएको छ। पूर्वी रुकुमको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर ३ रन्माका ७ वर्षीया कञ्चन बुढा र उनकी दिदी ८ बर्षीया रिमा बुढाको हत्या भएको प्रहरीले बताएको छ। दुई किशोरीले दुई बालिकाले लगाएको सुनको गहना लुट्न हत्या गरेको जिल्ला प्रहरी कार्यालय पूर्वी रुकुमले जनाएको छ। जिल्ला प्रहरी प्रमुख डिएसपी रन्जिता श्रेष्ठका अनुसार सुनको लोभमा दुई किशोरीले दुई बालिकाको हत्या गरेको पुष्टि गरिन्। चैत २२ गते कञ्चन र रिमा घर नजिकै बारीमा न्युरो टिप्न गएका बेला उनीहरुको हत्या गरिएको थियो। कञ्चन र रिमाले सुनका गहना लगाएका थिए। बारीमा काम गरिरहेका दुई किशोरीमा सुनको लोभ लागेपछि उनीहरुले कञ्चन र रिमाले लगाएको सुनका गहना लुट्न खोजेका थिए। ‘दुई बालिकाहरुले सुनका गहना लगाएका रहेछन्, बारीमा काम गर्दै गरेका अरु दुई किशोरीलाई सुनको लोभ जागेछ,अनि उनिहरुले सुन लुट्न खोजेको देखिन्छ’, डिएसपी श्रेष्ठले भनिन्। सुन लुट्न खोज्दा दुई बालिकाहरुले ती किशोरीहरुलाई चिनेको र आफूहरु फस्ने डरले किशोरीहरुले बालिकाहरुको हत्या गरेको थिए। सुरुमा उनीहरुले सुन लुट्न खोजे, तर बालिकाहरुले उनिहरुलाई चिनेपछि हत्या गरेका थिए। प्रहरीका अनुसार ती किशोरीहरुले सुनको गहना लुटे अनि दुबै बालिकाको घाँटी थिचेर हत्या गरेका थिए। हत्या गरिएका दुई बालिकाको शव उनीहरुले भिरबाट फालिदिएका थिए। शव हत्या गरिएको स्थान भन्दा एक किलोमिटर टाढा भिरबाट अनकन्टार ठाउँमा भेटिएको थियो। ‘हत्या भैसकेपछि उनीहरुले घटना स्थल भन्दा एक किलोमिटर टाढा अनकन्टार ठाउँमा कसैले पनि नदेखोस् भनेर शव भिरबाट फालिएको अवस्थामा भेटिएको थियो’, डिएसपी श्रेष्ठले भनिन्। दुई बालिका उक्त दिन घर नफर्केपछि परिवारले छिमेकमा खोजतलास गर्यो। तर उनिहरु त्यो दिन फेला परेनन्। अर्को दिन बिहान (२३ गते) खोजतलास गर्ने क्रममा दुई बालिकाहरु छाँगा तल मृत अवस्थामा भेटिएका थिए। प्रहरीका अनुसार हत्यामा संलग्न रहेको भनिएका दुई किशोरीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
उदयपुरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमा नै मृत्यु उदयपुर। ट्रकको ठक्करबाट मोटरसाइकलको चालकको मृत्यु भएको छ। आइतबार बिहान ट्रकले मोटरसाइकललाई ठक्कर दिदा घटनास्थलमा ४३ वर्षीय तारणी मगरको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मोहन थापाका अनुसार मे.१ ख २१८४ नम्बरको ट्रकले प्रदेश नं १–०५–००१ प ६१५९ नम्बरको मोटरसाइकल चालक त्रियुगा नगरपालिका–१४ का मगरले चलाएको मोटरसाइकललाई गाईघाट बजारमा ठक्कर दिएको थियो। साे घटना पछि ट्रक चालकलाई नियन्त्रणमा लिईएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
बलात्कारको आरोपमा ओखलढुंगामा ६० वर्षेनी वृद्ध पक्राउ ओखलढुङ्गा। जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले  ६० वर्षीय वृद्धलाई पक्राउ गरेको छ। जबरजस्ती करणी गरेको आरोपमा मानेभन्ज्याङ गाउँपालिका–२ का ६० बर्षिया गोपाल कटुवाललाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरिक्षक देबेन्द्र दासका अनुसार एक २४ वर्षिया युवतीलाई बलात्कार गरेको आरोपमा उनलाई पक्राउ गरेको हो। बलात्कृत भनिएको युवतीको उजुरीको आधारमा कटुवाललाई पक्राउ परेका हुन्। पक्राउ परेका कटुवाल माथी सोधपुछ जारी रहेको र उक्त घटनाका विषयमा थप अनुसन्धान गर्नु परेकाे भन्दै अदालतको म्याद थप गरेर उनलाई हिरासतमा राखिएको छ।
तावाको सट्टा सिधै आगोमा पकाएको रोटी स्वास्थ्यका लागि हानिकारक काठमाडौं। कतिपयले तावाको सट्टा सिधै ग्यासको आगोमा रोटी पकाउन थाल्छन्। वास्तवमा ग्यासमा रोस्ट गरेपछि खान राम्राे र फुलेकाे देखिन्छ अनि एकको सट्टा दुईवटा रोटी खाइन्छ। त्यसैले अधिकांश गृहिणीहरूले रोटी पकाउने यो विधि अपनाउने गर्छन्। तर स्वाद कहिलेकाहीँ स्वास्थ्य भन्दा बढी हुन्छ। यसरी रोटी पकाउँदा शरीरलाई हानी हुन्छ। आजको लेखमा हामी तपाईंलाई त्यसैको बारेमा बताउन गइरहेका छौं, ताकि तपाईंले रोटी पकाउने तरिका परिवर्तन गर्न सक्नुहुन्छ। किनकी, यस्तो रोटी खाँदा तपाईको मात्र होइन सम्पूर्ण परिवारको स्वास्थ्य बिग्रन्छ। जर्नल इन्भाइरोमेन्टल साइन्स एन्ड टेक्नोलोजीमा प्रकाशित हालैको अनुसन्धानका अनुसार यसरी रोटी पकाउँदा वायु प्रदूषक निस्कन्छ, जसलाई डब्लुएचओले हानिकारक मानेको छ। ती प्रदूषक हावाको नाम कार्बन मोनोअक्साइड, नाइट्रोजन डाइअक्साइड हो। उता, फुड स्ट्यान्डर्ड अष्ट्रेलिया र न्यूजील्याण्डका वैज्ञानिक डा. पल ब्रेन्टद्वारा २०११ मा प्रकाशित अनुसन्धानले ‘प्रत्यक्ष आगोमा पकाउँदा क्यान्सरजन्य रसायनहरू उत्सर्जन हुन्छ, जुन स्वास्थ्यका लागि हानिकारक साबित हुनसक्छ’ भनि उल्लेख गरेका छन्। सिधै आगोमा पकाएको रोटीले स्वास्थ्यलाई हानि पुर्‍याउँछ भन्ने अहिले नै पूर्ण रूपमा भन्न सकिन्न। यस विषयमा अझै अनुसन्धान आवश्यक छ। तर, अहिलेसम्मको अनुसन्धानलाई हेर्दा यसरी रोटी पकाउँदा स्वास्थ्यलाई हानि पुरयाउन सक्छ, त्यसैले तावामा नै रोटी पकाउने प्रयास गर्नुहोस्। तस्विरमा देखिए झैं तरिकावाट रोटी नपकाउन स्वास्थ्य बिज्ञहरूको सल्लाह छ।
आजको मौसमः सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू-भागमा पानी पर्ने संभावना काठमाडौं। हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल देशका कर्णाली प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश, मधेश प्रदेश र कोशी प्रदेशमा आंशिक बदली रहेको र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरुमा र बाँकी प्रदेशको पहाडी भू-भागको एक दुई स्थानमा मेघ गर्जन रचट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ। राति भने देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन र चट्याङबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
आगलागीबाट दश लाखको धनमाल क्षति महोत्तरी । महोत्तरीको सोनमा-१ मा आज दिउँसो आगलागी हुँदा रु १० लाखभन्दा बढीको धनमाल क्षति भएको छ । सोनमा बस्तीका मनोहर ठाकुर, इन्दल ठाकुर र इनरजित ठाकुरको घरमा आगलागी हुँदा सो बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । विद्युत् चुहिएर (विद्युत सर्ट भएर) सल्केको आगोले तीनवटा घर जलेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी दिए । आगलागीबाट तीनवटै घरमा राखिएको अन्नपात, खाना पकाउने ग्यास सिलिन्डर, लत्ताकपडालगायतका धनमाल नोक्सान भएको छ । आगलागीको लप्काले घर नजिकैको परालको कुन्यू भेट्टाउँदा बतासले चाँडै आगो फैलिएको थियो । आगो स्थानीय समुदाय, प्रहरी र सम्सीको बारुणयन्त्रबाट एक घण्टाको प्रयत्नले नियन्त्रण भएको प्रहरीले जनाएको छ । आगलागी भएका बखत घरका सबै परिवार काममा खेतबारी गएका थिए । जिल्लाको सुदूरपश्चिम–दक्षिणी भेगमा पर्ने यो बस्ती सदरमुकाम जलेश्वरबाट करिब ३० किलोमिटर दूरीमा पर्छ । चैत–वैशाख मधेसमा आगलागीका घटना बाक्लै हुने मौसम मानिन्छ ।
महोत्तरीमा आगलागीबाट दश लाखको धनमाल क्षति महोत्तरी । महोत्तरीको सोनमा-१ मा आज दिउँसो आगलागी हुँदा रु १० लाखभन्दा बढीको धनमाल क्षति भएको छ । सोनमा बस्तीका मनोहर ठाकुर, इन्दल ठाकुर र इनरजित ठाकुरको घरमा आगलागी हुँदा सो बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । विद्युत् चुहिएर (विद्युत सर्ट भएर) सल्केको आगोले तीनवटा घर जलेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी दिए । आगलागीबाट तीनवटै घरमा राखिएको अन्नपात, खाना पकाउने ग्यास सिलिन्डर, लत्ताकपडालगायतका धनमाल नोक्सान भएको छ । आगलागीको लप्काले घर नजिकैको परालको कुन्यू भेट्टाउँदा बतासले चाँडै आगो फैलिएको थियो । आगो स्थानीय समुदाय, प्रहरी र सम्सीको बारुणयन्त्रबाट एक घण्टाको प्रयत्नले नियन्त्रण भएको प्रहरीले जनाएको छ । आगलागी भएका बखत घरका सबै परिवार काममा खेतबारी गएका थिए । जिल्लाको सुदूरपश्चिम–दक्षिणी भेगमा पर्ने यो बस्ती सदरमुकाम जलेश्वरबाट करिब ३० किलोमिटर दूरीमा पर्छ । चैत–वैशाख मधेसमा आगलागीका घटना बाक्लै हुने मौसम मानिन्छ ।
विदेशबाट फर्केर गरेको तरकारी खेतीले फेरियो जिन्दगी गलेश्वर। बञ्चरेढुङ्गाको भिरालो पाखोमा रहेको घरमा राति सुत्नेबाहेक खेतबारीमा नै बित्छ ५४ वर्षीय हरिलाल घिमिरेको समय । सूर्योदयसँगै खेतबारीमा लगाइएको तरकारी खेतीबाट दिनचर्या सुरु गर्ने घिमिरेले राति अबेर घरमा फर्केर खाना खाएपछि मात्र आराम गर्छन् । उनमा युवाको जस्तै जोस र जाँगर कायमै छ । करिब ३५ वर्ष अघि मलेशिया गएका घिमिरेले त्यसपछिका २१ वर्ष खाडी मुलुकमा नै बिताए । मलेशिया, युएई र साउदी अरबमा पैसा कमाउन नसकेपछि थकित र विरक्तिएको मन लिएर उनी गाउँ फर्किए । म्याग्दीको बेनीनगरपालिका–२ बन्चरेढुङ्गाका घिमिरे गाउँ फर्केर हलो र कोदाली बोकी आफ्नै खेतको माटोमा पसिना बगाउन थालेपछि भने अहिले उनको जीवनमा खुशीयाली छाएको हो । घिमिरेले १४ रोपनी खेत र बारीमा बाह्रैमास तरकारी खेती गर्छन् । त्यसबाट वार्षिक रु १० लाख कमाउँछन् । छोरा, छोरी र श्रीमतीले पनि काममा सहयोग गर्ने हुँदा ज्याला तिरेर अझसम्म कसैलाई काममा लगाउन परेको छैन । हरिलाल जस्तै बेनी नगरपालिका–२ रोहोटेका चन्द्रबहादुर घिमिरे, सोही ठाउँका चन्द्रबहादुर कार्की, शोभित सापकोटा र फापर खेतका नवीन घिमिरेले गाउँकै माटोमा विदेशको भन्दा बढी लाभ लिन सफल भएका छन् । गाउँकै माटोमा तरकारी, फलफूल र पशुपक्षीपालनमार्फत खुसी र समृद्धि आर्जन गरेका यी पाँच जना मात्रै होइन जिल्लामा कैयौँ युवा छन् । देशमै केही गर्ने र परिवारसँगै बस्ने योजनाले नौ वर्ष साउदी अरबको बसाइ बिट मारेर स्वदेश फर्केका रोहोटेका ५० वर्षीय चन्द्रबहादुर घिमिरे पनि अहिले साउदी अरबको भन्दा दुई गुणा बढी आम्दानी गर्न सफल भएका छन् । “सुरुसुरुमा तरकारी खेतीबाट खासै राम्रो कमाइ गर्न नसके पनि मैले हिम्मत हारिन”, हरिलालले भने, “कतिले मलाई विदेशमा त कमाउन नसकेको मान्छेले जाबो माटोमा पसिना बगाएर के कमाउला भनेर गिज्याए पनि तर, म आफ्नो काममा लागिरहेँ ।” विसं २०६६ देखि व्यावसायिक प्राङ्गारिक तरकारी खेती गर्दै आएका घिमिरेले १४ रोपनीमा गोलभेँडा, करेला, साग, भण्टा, रामतोरिया, काँक्रो, मुला, धनियाँ, बोडी, बन्दागोभीलगायतका मौसमी तथा बेमौसमी तरकारी लगाएका छन् । तरकारी बिक्री गरेर घिमिरेले वार्षिक रु १० लाखभन्दा बढी कमाइ हुने गरेको बताए । घिमिरेले भने, “उमेर ढल्केपछि मलाई चेत आयो तर, मैले छोरालाई समयमा नै चिनाइ दिएँ पैसा फलाउने माटो र छेकी दिएँ मुग्लान जाने बाटो ।” अहिले घिमिरेको खेत बारीमा गोलभेँडा, काँक्रो, करेला, बन्दा, काउली, केराउ, धनियाँलगायतका तरकारी लटरम्मै फलेका छन् । खेतबारीमा फलेको तरकारीसँगै घिमिरेको घरपरिवारमा खुसी र सन्तुष्टि पनि छाएको छ । दुई छोरा, श्रीमती र आफू गरी परिवारका चार सदस्यले तरकारीको स्याहार, गोडमेल गर्ने, टिप्ने र बजारमा लगेर बिक्री गर्दै आएका छन् । “तरकारी बेचेर नै एक दिनमा रु तीन हजारको आसपासमा कमाइ हुन्छ”, घिमिरेले भने, “महिनाको सरदर रु ८० हजारदेखि रु एक लाखसम्म आफ्नै घरपरिवारसँग बसेर खेतबारीमा नै कमाइ हुन थालेपछि किन जानु विदेश ।” “२१ वर्ष खाडी मुलुकमा बिताउँदा पनि छोराछोरी र श्रीमतीको आङमा गतिलो कपडा र पोसिलो खानेकुरा जुटाउन सकेको थिएन”, घिमिरेले विगत सम्झदै भने, “अहिले रोजीरोजी खान र लगाउन सक्ने भएका छन्, ऋण माग्न कसैकोमा जानुपरेको छैन । सबै खर्च तरकारी खेतीबाट नै जुटेको छ ।” जिल्लाका छ स्थानीय तहका ७० भन्दा बढी युवा र काम गर्न सक्ने उमेरका व्यक्ति व्यावसायिक खेतीमा लागेका कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ ।
सडकमै ट्राफिक सुरक्षा सचेतता, छ सय ८६ चालक सहभागी काठमाडौं। काठमाडौं उपत्यकाका विभिन्न स्थानका सडकमै पुगेर ट्राफिक प्रहरीले आज सञ्चालन गरेको सडक सुरक्षा सचेतता कार्यक्रममा छ सय ८६ चालक सहभागी भएका छन्। काठमाडौँ उपत्यका कालिमाटी क्षेत्रमा एक सय ५०, कमलविनायकमा एक सय १०, नगरकोटमा ६०, सातदोबाटोमा ५७, थापाथलीमा ४८, सोह्रखुट्टेमा ४०, साँखु र कीर्तिपुरमा ३०–३० जनालाई सडक सचेतनामा सहभागी गराइएको थियो। यस्तै गोँगबुको नयाँबसपार्क, कपन, भक्तपुर, नेपालटारमा २५–२५ जना, फर्पिङमा २०, काँडाघारीमा १७, कमलपोखरीमा १५ र टोखामा नौसहित छ सय ८६ चालकलाई सडक सुरक्षाको सचेतना उपलब्ध गराइएको हो। कार्यक्रममा चालकलाई मादक पदार्थ सेवन, लागुऔषध सेवन र ढोका खुला गरी सवारी चलाउँदा हुने दुर्घटना र त्यसबाट हुने धनजनको क्षतिका विषयमा जानकारी गराइएको थियो। त्यस्तै तीव्रगति, आरक्षण सिट, रातो बत्ती, फुटपाथ पार्किङ, सडक लेनलगायतका विविध ट्राफिक नियम तथा कानुनका बारेमा पनि सजग गराइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए। उनले भने, “सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक सचेतता अभिवृद्धि गर्ने उद्देश्यका साथ चालक लक्षित चेतनामूलक कार्यक्रम गरिएको हो।” ट्राफिक प्रहरी कार्यालयमै बोलाएर कार्यक्रम गर्दा चालकको समय अभाव हुने भएकाले समय अभावलाई मध्यनजर गरी अन द स्पोट चेतनामूलक कार्यक्रम गरिएको पनि उनले बताए। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा मातहतका ट्राफिक प्रहरी कार्यालयले सडक संस्कारको अभिवृद्धि र दुर्घटना न्यूनीकरण गर्न विभिन्न अभियान नै चलाएर चालकसहित सडक प्रयोगकर्ता लक्षित चेतनामूलक कार्यक्रम गर्दै आएको छ।
नेपालमा ६४ जना कोरोना संक्रमित थपिए काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १ हजार १७० नमुना परीक्षण गर्दा ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार हाल देशभरमा ३५७ संक्रिय संक्रमित रहेका छन्। उनीहरूमध्ये १५ जना संक्रमित संस्थागत आइसोलेसनमा छन् भने १५ जनाको आईसीयू र ५ जनाको भेल्टिलेटरमा उपचार भइरहेको छ।
सरकारी विज्ञापन एकद्वार प्रणालीबाट व्यवस्थापन गर्ने तयारीमा छौँः मन्त्री शर्मा काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी विज्ञापनलाई सरकार एकद्वार प्रणालीबाट व्यवस्थापन गर्ने तयारीमा रहेको बताएकी छन्। नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाको २३औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै मन्त्री शर्माले लोककल्याणकारी विज्ञापन र समानुपातिक विज्ञापनलाई सरकारको न्यूनतम साझा कार्यक्रममार्फत एकद्वार प्रणालीअनुसार लैजान नीति बनाउन लागेको उल्लेख गरिन्। त्यसका लागि मन्त्रालयले आवश्यक प्रक्रिया थालेको उनको भनाइ छ। “सरकारले फजुल खर्च कटौती गर्न लागेको छ”, मन्त्री शर्माले भनिन्। विज्ञापनको व्यवस्थापनले न्यूनतम पारिश्रमिक नपाउने समस्या हल हुने उनले विश्वास व्यक्त गरिन्। उनले भनिन्, “जाजरकोटमा विज्ञापन खोल्नु छ, त्यहाँको बाटो बनाउने विज्ञापन काठमाडौँको पत्रिकामा छापिन्छ। त्यो पत्रिका लिएर विज्ञापनको पैसा लिने तरिका बेठिक छ, यसरी हँुदैन। यसलाई रोक्न आश्यक परे नियमावलीमा संशोधन गराँै।” .पत्रकारिता लोकतन्त्रको सुन्दर पक्ष भएको उल्लेख गर्दै मन्त्री शर्माले सामूहिक छलफल र निष्कर्षबाट सञ्चारजगत्का समस्या समाधान खोज्न आग्रह गरिन्। उनले भनिन्, “पत्रकारिता क्षेत्रमा रहरले प्रवेश गर्ने र कालान्तरमा पछुताउनु पर्ने अवस्था राम्रो हैन। यो लोकतन्त्रका लागि नराम्रो हो।” नेपाल पत्रकार महासङ्घको काठमाडौँ शाखाको भवन निर्माणका लागि जग्गाका विषयमा सहजीकरण गर्न सो अवसरमा उनले प्रतिबद्धता व्यक्त गरिन्। कार्यक्रममा महासङ्घको काठमाडौँ शाखाका अध्यक्ष सूर्य सुवेदीले विज्ञापन, सदस्य शुद्धीकरण, नवीकरण र पत्रकारका लागि निःशुल्क स्वास्थ्य सेवाप्रति मन्त्री शर्माको ध्यानार्कषण गराए। उनले भने, “विज्ञापन बोर्ड पत्रकार बचाउनेभन्दा पनि नियमनकारी भूमिकामा बढी हाबी छ। विज्ञापनका लागि चाकडी गनुपर्ने अवस्थाको अन्त्य नभए अधिकांश सञ्चारमाध्यम बन्द हुने अवस्थामा छन्।” वार्षिक साधारणसभाका अवसरमा शाखाले स्थापना गरेको आदर्श पत्रकारिता पुरस्कार, २०७९ बाट वरिष्ठ पत्रकार किशोर नेपाललाई सम्मान गरिएको थियो।
कुखुरा ब्यवसायीकाे गृहमन्त्रीसँग गुनासाे, ‘स्विटकर्न र फ्रेन्च फ्राई भन्दै भारतबाट मासु ल्याइयाे’ काठमाडौं ।  भारतबाट कुखुराको मासु र अन्डाको अवैध तस्करी रोक्न नेपाल दाना उद्योग संघ र नेप ह्याचरी उद्योग संघले गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन्। दाना संघका अध्यक्ष रविन पुरी र ह्याचरीका अध्यक्ष ऋषिराम पौडेलसहितको टोलीले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर ध्यानाकर्षण गराएका थिए। भेटमा उनीहरूले नेपालको कृषि क्षेत्रमध्ये पोल्ट्री व्यवसाय आत्मनिर्भर रहेको तर भारतबाट बढेको तस्करीले करिव १ खर्ब ६० अर्ब रुपैयाँ लगानी जोखिममा परेको बताएका थिए। ५ लाख व्यक्तिलाई रोजगारी दिएको र आयात प्रतिस्थापन गर्दै सस्तो मूल्यमा गुणस्तरीय र पोषणयुक्त कुखुराको मासु र अण्डा उपलब्ध गराउदै आएको ब्यवसाय अबैध तस्करीले संकटमा परेको दुबै संघको प्रतिनिधिले गृहमन्त्रीलाई जानकारी गराएका थिए। ‘नेपालको पोल्ट्री क्षेत्रमा सबै भन्दा प्रमुख समस्या देशको खुला सीमानाका रहेको छ। भारतीय सीमा नाकाहरुवाट अवैध रुपमा पोल्ट्रीजन्य वस्तुहरु चल्ला, कुखुरा, तयारी मासु र अण्डा दिनहु भित्रँदा यस पेशालाई अत्यन्त ठुलो जोखिम रहेको छ’ दुबै संघले बुझाएको ज्ञापन पत्रमा लेखिएको छ। भारतमा समय समयमा देखा पर्ने बर्ड फ्लु रोगको संक्रमणले रोग मित्रने सन्त्रास र अवैध आयात हुँदा देशको राजश्व चुहावट समेत हुने गरेको उल्लेख छ। भारतबाट प्रज्ञापन पत्र लिएका मालबाहक कन्टेनरहरुमा स्वीट कर्न, फ्रेन्च फ्राई मात्र उल्लेख भई भन्सार कार्यालयबाट पास भएमा मालबाहक कन्टेनरमा कुखुराको मासु, माछा भेटिने गरेको भन्दै उनीहरूले नाकामा कडाई गर्न आग्रह गरेका हुन्। नेपालगन्ज, कृष्णनगर, भैरहवा, धनगढी, तौलिहवा, त्रिवेणी, परासी, विरगन्ज, वारा, पर्सा, रौतहट, सर्लाही, मलगवा, जलेश्वर, विराटनगर नाकाहरुबाट अवैध रुपमा कुखुरा, तयारी मासु, चल्ला, अण्डा आयात हुने गरेको उनीहरूको दाबी छ। विशेष गरी भारतीय सीमा नाकाहरुका जिल्लामा सञ्चालित कोल्ड स्टोर्सहरुले भारतबाट अवैध रुपमा कुखुरा आयातगरि ड्रेसिङ्ग गरेर नेपालका प्रमुख शहरहरुमा कुखुराको मासु निर्यात गरिरहेको, भारतीय सीमा नाकाका भन्सार कार्यालयमा सतर्कतापूर्वक चेक जाँच नगर्ने गरेको उनीहरूको गुनासो छ। सिमामा गृह मातहतकै सशस्त्र प्रहरी बल खटिदै आएको छ। दुबै संघले भारतीय सीमा नाकाहरुबाट आयात हुने चल्ला, कुखुरा, तयारी मासु, अण्डाहरुको नियन्त्रणका लागि सुरक्षा निकायहरुलाई आवश्यक निर्देशन दिन माग गरेका थिए। कुखुरा ब्यवसायीकाे गुनासो सुनेपछि गृहमन्त्री श्रेष्ठले सरकार ह्याचरी मात्र नभई कुनै पनि प्रकारको तस्करी हुन नदिनेगरि अगाडि बढेको बताएका थिए। आत्मनिर्भर बनिसकेको दाना र ह्याचरी उद्योगलाई असर पर्ने कुनै पनि गतिविधी सह्य नहुने र यसमा संलग्न जो कोहीलाई कारबाही दायरामा ल्याउने भन्दै उनले तत्काल सम्बन्धित निकायलाई मन्त्रालयबाट निर्देशन जाने वचन दिएका थिए।
रामेछाप कारागारका कैदी बन्दीकाे उपचारको क्रममा मृत्यु रामेछाप । झन्डै दुई महिना देखी रामेछाप कारागारमा रहदै आएका एक कैदीको मृत्यु भएको छ । कर्तव्य ज्यान मुद्दामा पुर्पक्षको लागि १ महिना १९ दिन अघि देखी मात्र कारागारमा रहदै आएका कैदी बन्दीको मृत्यु भएको हो । रामेछाप कारागारका प्रमुख रुपलाल तामाङका अनुसार लिखु तामाकोशी गाउँपालिका–५ का ५२ वर्षीय वीरे दमाई भन्ने वीरे दर्जीको उपचारको क्रममा मृत्यु भएको हो । उनका अनुसार कारागारमा रहेको बेला अकस्मात पेट दुखेको बताएपछि कारागर प्रशासनले उनलाई तत्काल उपचारको लागि जिल्ला अस्पताल रामेछाप लगिएको थियाे । उपचारको क्रममा उनको मृत्यु भएको चिकित्सकले घोषणा गरेका थिए । मृतक दमाईलाई कर्तव्य ज्यान मुुद्दामा रामेछाप जिल्ला अदालतले गत फागुन ४ गते मात्रै पुर्पक्षको लागि जेल पठाएको थियो । उनको शुक्रवार निधन भएको हो ।
महिलाको सक्रिय सहभागितामा भजन : हट्दै अल्छीपन, आनन्दित मन पाल्पा । अधिकांश भजनकिर्तनमा पुरुषको वर्चस्व पाइन्छ । पुरुष समूहमा सहभागी भएर विभिन्न स्थानमा भजन गाउने गर्छन् । महिला सहभागिता कमै देखिन्छ । वैष्णव सम्प्रदायको केन्द्रीय कार्यालय रहेको राधा दामोदर नेपाल निम्वार्क पिठ केलादीधाममा राधे भजन पाल्पामा महिलाको सक्रियता छ । मन्दिर आसपास स्थानीय महिला समूहमा आबद्ध भएर भजन गाउछन् । महिला समूहमा सहभागी भएर भजनमा गाउने कार्य गरिरहेको विष्णुकान्ति भण्डारी बताउँछिन्। यहाँ दैनिकजसो चारदेखि आठ जनासम्मको समूहमा भजनमा जुट्ने गरेको उनले बताइन्। “भजनमा सामेल हुन थालेपछि शरीरमा फुर्तिलोपन आएको छ, घरको सबै कामकाज सबेरै सकाएर भजनलाई छुट्टै समय दिइरहेको छु, वाद्यवादनको तालमा गाइएको राधेश्याम, राधेकृष्ण भजनले भगवान्को नाममा ध्यान एकाग्र हुँदा मानव मनभित्रका वेदना, दुःख, तनाव सबैबाट मुक्ति मिलेको छ”, उनले भनिन्। भजन पुरुषले नै गाउनुपर्छ भन्ने छैन । महिलाले पनि अखण्ड भजन गाउन सक्ने उनको अनुभव छ । महिलाले सीप सिक्न नखोज्नु र यसमा रुची कमैले राख्ने गरेकाले पुरुषको मात्रै संलग्नता समाजमा धेरै देखिएको भण्डारीको भनाइ छ । उमेरले ५३ पुगेकी भण्डारी जवानी उमेरमा नै पाकापुस्तासँग भजन गाउन सिकेर अहिले आफ्नै नेतृत्वमा सामूहिक भजनमा सहभागी हुने गरेको बताउँछिन्। परम्परा र संस्कृति संरक्षण मात्र नभई भजनले मनका सारा पीडा दुःख भुलाउँछ । दैनिक दुई घण्टाको समय उनले भजनमा बिताउँछिन्। । केलादीधाममा भजन गाउने र मनलाई आनन्दित पार्न यहाँका स्थानीयको सक्रिय सहभागिता छ । घर नजिकै मन्दिर भएकाले भजन सिक्न सजिलो भएको छ । घर परिवारका पीडा सबै भजनमा सहभागी भएपछि भुल्दै गएको देवीमाया पौडेल बताउँछिन्। उनी हरेक दिन मध्याह्न १२ बजेदेखि दिउँसो २ बजेसम्म भजनमा सहभागी हुन्छिन् । केलादी मन्दिरमा उनी सो समय गाउँका छिमेकी साथीको साथमा आफैँले बजाएको मादलको तालमा भजन गाउँदा अल्छीपन हट्नुका साथै पीडाले भरिएको मन हलुको हँुदै गएको अनुभव सुनाउँछिन्। अरुले गाएको भजनबाट सीप सिकेर अहिले आफैँले भजन गाउन सक्ने दक्षता हासिल गरेर दैनिक भजनमा संलग्न रहदै आएको पौडेलले बताइन्। यहाँ महिलाहरुले आफै मादल, झ्याली, मुजुरा बजाउँदै भजनमा सक्रिय हुने गरेको पाइएको छ । समुह समुहमा पालैपालो घरको कामधन्दा सकाएर तीस वर्ष माथिका महिलाहरु भजनमा सहभागी हुने गरेका छन् । यस कार्यले धर्म, संस्कृति र परम्पराको संरक्षण मात्र नभई मनलाई आध्यात्मिक क्षेत्रमा रमाउने माध्यम बनेको छ । केलादीधाममा हाल दैनिक बिहान ६ देखि साँझ ६ बजेसम्म अखण्ड भजन भइरहेको नेपाल निम्वार्क पिठ राधा दामोदर मन्दिर केलादीधामका सचिव लेखनाथ खनाल बताउँछन्। उनका अनुसार एक समूहलाई दुई घण्टाको समय भजन गाउने वातावरण मिलाइएको छ । दिनमा छ समूहमा आफ्नो पालोअनुसार भजनमा सहभागी हुने गर्दछन् । “नयाँ पुस्ताले पुरानो संस्कृित बिर्सदै गएको र आधुनिकताको नाममा पुराना चलन अवलम्बन नहँुदा नयाँ पुस्ता भजनमा रुची देखाउँदैनन्”, उनले भने, “उनीहरुलाई पनि भजनबारे जानकारी दिन र परम्परा धान्न नियमित रुपमा भजन चलाइरहेका छौँ ।” २४ सै घण्टा अखण्ड भजन भइरहने गरेकोमा अहिले जनशक्ति अभावमा दिनको समयमा मात्रै नियमित भजन मन्दिरमा चलाइरहेको खनालले बताए । यहाँ विसं २०३७ वैशाखदेखि हँुदै आएको अखण्ड भजन २०७६ वैशाख देखि १२ घण्टा मात्रै चलेको छ । रातको अखण्ड भजन बन्द छ । कालीगण्डकी नदीको तटमा रहेको यस केलादीधामले पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुरलाई जोडेको छ।
उपलब्धिमूलक र प्रभावकारी बन्दै भूतपूर्व सैनिक सम्मेलन काठमाडौं। ‘भूतपूर्व सैनिक सम्मेलनको अभिलाषा–सेनाप्रतिको समर्पण र भरोषा’ भन्ने मूल नाराका साथ यस वर्ष तीन पृतना मातहत छ स्थानमा आयोजना गरिएको भूपूसैनिक सम्मेलनको मैजारो भएको छ। गत फागुन १५ गते रुपन्देहीबाट थालिएको सम्मेलन दाङ, पोखरा, खैरेनीटार, बर्दिवास हुँदै चैत २१ गते रामेछापको मन्थलीमा सकिएको हो। मध्यपश्चिम, पश्चिम र मध्यपूर्र्वी पृतना मातहतका ३५ जिल्लाका भूतपूर्व सैनिकलाई लक्षित सम्मेलन भेटघाट, सेवाप्रवाह र सुझाव सङ्कलनका हिसाबले उपलब्धिमूलक रहेको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले बताए। जीवनको महत्वपूर्ण क्षण सैनिक संगठनमा बिताएका भूपूसैनिकको आर्थिक तथा सामाजिक जीवन सुखद बनाएर समाजमा मर्यादित, अनुशासित र सशक्त बनाउन सेनाले स्वास्थ्य, शिक्षा, सीप, स्वरोजगार, सेवा एवं सहुलीयतसहित स्वावलम्बनका कार्यक्रम सञ्चालन गर्दै आएको छ। प्रत्येक सेनापतिले आफ्नो तीन वर्षे कार्यकालमा प्रादेशिक रुपमा कम्तीमा एकपटक भूपूसैनिक सम्मेलन गर्ने चलन छ। अघिल्लो वर्ष सुदूरपश्चिम र मध्यश्चिम क्षेत्रका १९ जिल्लामा स्थायी बसोबास गर्ने भूतपूर्व सैनिकका लागि यस्तो कार्यक्रम गरिएको थियो। सम्मेलनको मुख्य उद्देश्य भनेको हिताधिकारीलाई कल्याणकारी कार्यको जानकारी, चाहना पहिचान, संगठन प्रमुखले अन्तरक्रिया गरी राय सुझाव सङ्कलन गर्ने, पीर मर्का सुन्ने, शिविरमार्फत स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने तथा सेनाप्रति विश्वास र भरोसा दिलाउने नै हो। आगामी वर्ष पूर्वी पृतना र उपत्यका पृतना मातहतका जिल्लालाई लक्षित गरी यस्तो सम्मेलन हुनेछ। सम्मेलनका क्रममा प्रधानसेनापति शर्माले गौरवशाली इतिहास र विशिष्ट परम्परा बोकेको सैनिक संगठनमा भूपूसैनिकले पुर्‍याएको योगदानको उच्च कदर गर्दै हिताधिकारीको आयआर्जनका लागि नयाँ-नयाँ क्षेत्रको पहिचान गरी सम्बोधन गर्ने प्रयास भइरहेको बताए। उनले भने, “राष्ट्र सेवा र जनताको सुख-दुःखमा साथ रहनु सेनाको मूलमन्त्र हो, सेना बलियो हुनु भनेकोे राष्ट्रिय सुरक्षा, राष्ट्रिय हित तथा राष्ट्रिय स्वार्थको संरक्षण र सम्बोधन अझ प्रभावकारी हुनु हो।” प्रधानसेनापति शर्माले लामो सैनिक जीवनको दौरान प्राप्त ज्ञान र सीपलाई आफू बसोबास गरिरहेको स्थानमा प्रयोग गर्दै सदैव राष्ट्रको हितका साथै जनताको सेवामा समर्पित रही अनुशासित नागरिकको रुपमा प्रस्तुत हुन सुझाव दिए। कोषका प्रमुख कार्यकारी अधिकृत पूर्वरथी गौरव तण्डुलले वहालवाला तथा अवकाश प्राप्त सैनिक र परिवारजनको वृहत्तरहितका खातिर संगठन सदैव दत्तचित्त र चिन्तनशील रही सञ्चालन गरिएका कल्याणकारीका नवीनतम कार्यक्रम उच्चस्तरीय र प्रसंशनीय रहेको दाबी गरे। भूतपूर्व सैनिकको जीवनलाई केही हदसम्म सरल, सहज र सुखी बनाउन सेना प्रयत्नशील रहेकाले सैनिक कल्याणकारी कोषको रकम पारदर्शी रुपमा सदुपयोग गर्दै शिक्षा, स्वास्थ्य, स्वरोजगार र सहुलियतमार्फत सम्पूर्ण हिताधिकारीलाई सुविधा उपलब्ध गराउँदै आएको सम्मेलनका क्रममा जानकारी गराइयो। कोषले हिताधिकारीको जीवनस्तर उकास्न नेपाल मेगा इन्भेष्टमेन्ट बैंकसँगको सहकार्यमा विसं २०७२/७३ बाट सुरु गरेको लघुवित्त तथा स्वरोजगारका लागि सहुलियतपूर्ण कर्जा कार्यक्रमबाट ३२ हजार सात सय ७३ लाभान्वित भइसकेका छन्। उक्त कार्यक्रममा हालसम्म रु सात अर्ब १८ करोड ३६ लाख ९९ हजार कर्जा प्रवाह भइसकेको बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले जानकारी दिए। सेनाले हिताधिकारी लक्षित व्यावसायिक कृषि तथा पशुपंक्षी तथा महिला उद्यमशीलता कर्जा कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ। पछिल्ला वर्ष भूपू तथा पारिवारिक निवृत्तिभरणमा रहेका एकल महिलाको सम्मानका लागि विभिन्न विधामा उत्कृष्ट ठहरिएका व्यक्तिलाई सेनाले स्थापना दिवसको अवसरमा नगद पुरस्कार र प्रशंसापत्र प्रदान गर्दै आएको छ। सम्मेलनमा प्रादेशिक रुपमा ज्येष्ठ भूपू र एकल महिला तथा चार वा सोभन्दा धेरै सन्तान सेनामा भर्ना गर्न प्रोत्साहन गर्ने मातापितालाई सम्मानका साथै शारीरिक असक्तलाई वैशाखी र ह्वील चेयर प्रदान गरिदै आएको छ। लामो समयपछि हुने भेटघाट, सद्भाव र मेलमिलापले सम्मेलनको आवश्यकता र ओज बढाएको छ। जीवनको ऊर्जाशील समय सैनिक सेवामा विताएका ठूलो सङ्ख्यामा रहेका भूपू सैनिकले सम्मेलनलाई सहकर्मीबीच भेटघाट, सुख-दुःख साटासाट र संगठनको नेतृत्वसँग गुनासो व्यक्त गर्ने महत्वपूर्ण अवसरका रुपमा लिने गरेको पाइन्छ। सम्मेलनलाई हिताधिकारीको सेवा सुविधा विस्तार र घोषणा गरिएका कार्यक्रमको समीक्षा गर्ने अवसरका रुपमा सेनाले लिने गरेको छ। हाल मुलुकभर भूपूसैनिक र पारिवारिक निवृत्तिभरणमा रहेका एकल महिलासमेतको सङ्ख्या ९७ हजार पाँच सय १५ रहेको छ। यस वर्षको सम्मेलनमा १७ हजार छ सय ५९ भूपूसैनिक तथा आश्रित एवं एकल महिला दुई हजार पाँच सय ४१ जनाको सहभागिता रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। कल्याणकारी कोषमार्फत सेनाले आफ्नो दायित्वभित्र परेका १० लाखको सङ्ख्यामा रहेका हिताधिकारीलाई विभिन्न सेवा र सुविधा प्रदान गर्दै आएको छ। सम्मेलनका क्रममा भूपूसैनिकद्वारा प्रस्तुत हुने जोशिलो परेडले संगठनको ओज बढाउने मात्र नभई प्रदेश र जिल्लाको पहिचानका रुपमा रहेका बाजागाजा, वेषभूषा तथा झाँकीसहितको गीत संगीत र नृत्यले लोक संस्कृतिको संरक्षण, विकास र विस्तारमा योगदान पुगेको छ। विगतमा काठमाडौँमा मात्र केन्द्रित स्वास्थ्य सेवा भूपूसैनिकको माग सम्बोधन गर्ने क्रममा सेनाले प्रदेशस्तरमै गुणस्तरीय सेवा पुर्‍याउन इटहरी, पोखरा, बर्दिवास, बुटवल, धनगढी, नेपालगञ्ज र बोराडाँडीमा अस्पताल निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ। सम्मेलनका क्रममा विगतमा प्राप्त सुझावका आधारमा सेनाले हिताधिकारीलाई आत्मनिर्भर र स्वावलम्बी बनाउन मेकानिक्स, सिलाइकटाइ, पेन्टर, कार्पेन्टर, इलेक्ट्रिसियन, प्लम्बर, कुक, कम्प्युटर र कृषिसम्बन्धी व्यावसायिक तालिम प्रदान गरिरहेको छ।
काठमाडौं उपत्यकामा एकै दिन करिव ३४ सय सवारी चालक कारबाहीमा काठमाडौं। काठमाडौं उपत्यकामा ३ हजार तीन सय १० दश जना सवारी चालक पक्राउ परेका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने १८४ जनासहित सो संख्यामा सवारी चालक कारबाही परेका छन्। शुक्रवार मात्रै लेन अनुशासन पालना नगर्ने ८१ सवारी चालक पनि कारबाहीमा परेका छन् भने सडक बत्ती सम्बन्धी नियम पालना नगर्ने ५०, अनावश्यक हर्न बजाउने ४६, नम्बर प्लेट स्पष्ट नलेखिएका ३१, लिडारगन ३०२ र अन्य २ हजार ६ सय ८ गरि २ हजार ५४९ जना सवारी चालकलाई कारबाही उपत्यका ट्राफिक प्रहरीले जनाएको छ।
गहनापोखरीमा गहना खोज्ने जात्रा [ फाेटाेफिचर ] काठमाडाैं। राजधानीको हाँडीगाउँस्थित गहना पोखरीमा हरेक वर्ष मनाइने ‘गहना खोज्ने जात्रा’  मनाइएकाे छ। काठमाडौं उपत्यकाका अन्य स्थानमा पाहाँचह्रेका साथै घोडेजात्रा पर्व मनाए पनि हाँडीगाउँ क्षेत्रमा भने यो पर्व मनाइँदैन। हाँडीगाउँमा भने लुकुमाद्य: का रुपमा लुकाएर राखिएको देवतालाई निकालेर आज पूजा आराधना गरिने परम्परा रहेको छ।  यस जात्रामा स्थानीय नेवार समुदायका युवाहरूले काँधमा टुँडालदेवीको पालकी बोकेर हराएका गरगहना खोज्ने गर्छन्।
आजको मौसम: कर्णाली, गण्डकी र कोशी प्रदेशको पहाडी भू-भागमा पानी पर्ने संभावना काठमाडौं। हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी प्रदेश ,मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली देखी सामान्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन रचट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ। राति भने कोशी प्रदेश ,मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने छ। कर्णाली प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशको पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन र चट्याङबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउनु महाशाखाले अनुरोध गरेको छ।
गर्मी सुरु भएसँगै सुनकोसीमा बढ्न थाले पर्यटक कमलामाई (सिन्धुली)। सिन्धुली र रामेछापका अग्ला पहाड, वारिपारिको समथरको झुरुम्म बस्ती । छेउमा सलल बगेको सुनकोसी नदी । यहाँको शान्त र सुन्दर वातावरणमा रमाउन केही समययता आन्तरिक र बाह्य पर्यटक बढ्न थालेका छन् । सिन्धुलीको सुनकोसी गाउँपालिका–५ मुलकोटमा अवस्थित ताज रिभरसाइड रिसोर्ट प्रबन्ध निर्देशक मनोज श्रेष्ठका अनुसार गर्मी मौसम सुरु भएसँगै सुनकोसी नदीमा जलयात्रा (र्‍याफ्टिङ) गर्ने पर्यटकको भीड लाग्ने गरेको छ । दिनकै एक–दुई सय पर्यटकले जलयात्रा गरेर आनन्द लिने गरेका छन् । पर्यटन प्रवद्र्धनमा सहयोग गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको जलयात्रा सेवाले पर्यटक तान्न थप सहयोग पुगेको छ । राजधानी काठमाडौँलाई तराईका जिल्लासँग जोड्ने छोटो दूरीको बिपी राजमार्गले पर्यटकलाई आवातजावतमा सहजता थपिदिएको छ । सन् २०१८ अक्टोबर १० मा व्यवसायीले सञ्चालन गरेको जलयात्रा अहिले पर्यटकको आकर्षण बनेको छ । जाडोयाममा पनि जलयात्रा गर्ने पर्यटकको घुइँचो थियो । गर्मीयाम चैतदेखि असारसम्म भ्याइनभ्याइ हुने व्यवसायी तथा ताज रिभरसाइड रिसोर्टका प्रमुख श्रेष्ठ बताउँछन्। “जलयात्राको मुख्य सिजन गर्मीयाम हो । यस याममा विशेषगरी काठमाडौँबाट प्याकेजमा मनोरञ्जन लिन आउने गर्दछन्, सार्वजनिक बिदामा दैनिक एक हजार जना बढीले जलयात्रा गर्दै आएका छन्”, उनले भने । प्राविधिक दृष्टिकोणले सुनकोसी नदीमा जलयात्रा गर्न सुरक्षित देखिएपछि पर्यटकलाई जुनसुकै समयमा पनि जलयात्रा सेवा दिन सकिएको उनले बताए । जलयात्राका लागि २० वटा बोट (डुङ्गा) छन् । प्रतिबोट आठ जनासम्म यात्रा गर्न सकिन्छ । हाल १० वटा बोटमात्रै नियमितरूपमा सञ्चालित छन् । उनका अनुसार सुनकोसी गाउँपालिका–१ को कुशेश्वर महादेव मन्दिरबाट मूलकोटसम्म ९१७ किलोमिटर० वा यात्रुको चाहनाअनुसार मुलकोट–खुर्कोटसम्म जलयात्राको नियमित रुट हो । यहाँ जलयात्रा गरेवापत प्रतिव्यक्ति रु एक हजार पाँच सय शुल्क कायम गरिएको छ । पर्यटकले एक साताको प्याकेजमा मुलकोट–चतारासम्म जलयात्रा सेवा पनि लिन सक्छन् । यो सेवावापतको शुल्क अलि बढी भएकाले विदेशीले मात्र लिने गरेको उनले बताए । रामेछाप खाडाँदेवी गाउँपालिका–३ भिरपानीका चेतबहादुर जर्गामगर बिहीबार सिन्धुलीको मूलकोटमा आएर जलयात्रामा सहभागी भए । रामेछापको नमूना माझी बस्ती, डाँडापाखा, पहाड र नदीको र्‍याफ्टिङले स्वर्गीयआनन्द प्राप्त भएको उनले बताए । जलयात्राकै लागि उनी भिरपानीबाट मूलकोट आएका हुन् । एक दिनको पूरै समय मूलकोटमा बिताउने गरी आउनुभएको उनले सुनकोसीमा जलयात्रा गरी बिताएको बताए। सुनकोसी नदीमा जलयात्रा सुरु गरिएपछि यहाँका होटल र रिसोर्ट सधैँजसो भरिन थालेका छन् । व्यापार, व्यवसायमार्फत गाउँपालिकाको विकास गर्न होटल, होमस्टे निर्माण तथा र्‍याफ्टिङ गाइडरलाई तालिम दिनेजस्ता काम पनि बेला–बेलामा भइरहेका छन् । सुनकोसी गाउँपालिकामा पर्यटक भित्र्याउन सुनकोसी नदीमा सञ्चालन गरिएको जलयात्रा सेवाले सहयोग गरेको गाउँपालिका प्रमुख दीपा बोहोरा दाहालको बुझाइ छ ।
विदेशी पर्यटक आकर्षणका लागि रणनीतिक आवश्यकः मुख्यसचिव बैरागी काठमाडौं। मुख्य सचिव शङ्करदास बैरागीले मुलुकको पर्यटन क्षेत्रको विकासका लागि बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउने रणनीतिक कार्ययोजनाका साथ अघि बढ्नुपर्ने बताएका छन्। उक्त प्रयोजनका निम्ति निजी क्षेत्र र सरकारको प्रभावकारी समन्वय र सहकार्य जरुरी रहेको उनले उल्लेख गरे। नेपाल पर्यटन बोर्डले आज यहाँ आयोजना गरेको ‘राष्ट्रिय समृद्धिमा पर्यटनको भूमिका’ अन्तरक्रियामा उनले अर्थतन्त्रको दरिलो आधार मानिने पर्यटन क्षेत्रलाई चलायमान बनाउन विदेशी पर्यटक आकर्षणका लागि सम्भाव्य गन्तब्य बजारमा प्रभावकारी प्रवद्र्धन गरिनुपर्ने बताए। “निजी क्षेत्रलाई साथमा लिएर मात्रै पर्यटन विकास गर्न सकिन्छ, त्यसका लागि क्षेत्रगत रणनीतिका साथ अघि बढ्नुपर्छ”, मुख्यसचिव बैरागीले भने, “पर्यटन विकासका लागि सरकार र निजी क्षेत्रको समन्वय र सहकार्यमा अन्तर्राष्ट्रिय बजारमा जाऔँ, छिन्न, भिन्न भएरभन्दा पनि समन्वयका साथ काम गर्न सकेको खण्डमा परिणाम निस्कन्छ।” मुख्यसचिव बैरागीले नेपालको पर्यटन ‘नेचर र कल्चर’ मा आधारित रहेकाले यसैलाई ब्राण्डिङ र प्रवद्र्धन गरिनुपर्नेमा जोड दिए। उनले भने, “पर्यटनको ब्रान्डिका लागि समय सापेक्ष नयाँ अवधारणा आवश्यक छ। नेपालको राष्ट्रगानले सबै क्षेत्रलाई समेटेको छ, यसलाई अन्तर्राष्ट्रिय ब्राण्डिङ गर्नुपर्छ। कुन तौर र तरिकाबाट गर्न सकिन्छ त्यसमा सम्बन्धित निकायले ध्यान दिनुपर्छ।” मुख्यसचिव बैरागीले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को गरिमा र मर्यादालाई कायम राख्दै यसको भविष्यलाई सुनिश्चित गर्न कसरी संरचनागत र व्यवस्थापकीय सुधार गरेर जान सकिन्छ भनेर आन्तरिक छलफल भइरहेको जानकारी दिए। उनले नेपालको हवाई क्षेत्रलाई युरोपेली सङ्घ (इयू)ले लामो समयदेखि राखेको सुरक्षा सूचीबाट हटाउन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियामक बनाएर संरचनागत सुधार जरुरी रहेको औँल्याए। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले वायुसेवा निगमको व्यवस्थापकीय सुधार गरी अन्तर्राष्ट्रिय गन्तव्य बजार विस्तारका लागि प्रक्रियाअघि बढेको बताए। उनले अन्तर्राष्ट्रिय पर्यटन आकर्षणका लागि प्रभावकारी कार्ययोजनाका साथ अघि बढ्नुपर्नेमा जोड दिए। बोर्डका कार्यकारी प्रमुख डा धनन्जय रेग्मीले नेपालको पर्यटन क्षेत्रको विकासका लागि विदेशी पर्यटकलाई आकर्षण गर्न अन्तर्राष्ट्रिय बजार रणनीति आवश्यक रहेको बताए। नेपाल सरकारका उच्च अधिकारी तथा पर्यटन क्षेत्रका अगुवा सङ्गठनका प्रमुख एवं प्रतिनिधिले विस्तारै चलायमान बनिरहेको पर्यटन बजारलाई थप गतिशील बनाउन प्रभावकारी योजनाबद्ध कार्यक्रक ल्याइनुपर्ने खाँचो औँल्याए। ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)का अध्यक्ष निलहरि बाँस्तोला, पूर्वअध्यक्ष दीपक महत, नेपाल एशोसिएशन अफ टूर एन्ड ट्राभल एजेन्सट्स (नाट्टा)का अध्यक्ष रमेश थापा, नेपाल एशोसिएशन अफ राफ्टिङ एजेन्सिज (नारा)का अध्यक्ष शिव अधिकारी, पत्रकार कनकमणि दीक्षितले पर्यटन क्षेत्रको विकासका लागि हवाई सेवालाई सर्वसुलभ बनाइनुपर्ने, वायुसेवा निगमलाई प्रभावकारी बनाउँदै पर्यटनसम्बन्धी सेवालाई एकद्धार प्रणालीमा लैजानुपर्ने सुझाएका थिए। सहसचिवद्वय सुरेश आचार्य र डण्डुराज घिमिरेले अन्तर्राष्ट्रिय हवाई सेवा विस्तार र पर्यटकीय सेवाको गुणस्तरमा ध्यान दिन जरुरी भएको उल्लेख गरे।
कैलालीमा खैरो हिरोइन सहित दुई जना पक्राउ धनगढी । कैलालीमा शुक्रबार लागूऔषध खैरो हिरोइन सहित दुई जना पक्राउ परेका छन् । जिल्लाको बर्दगोरीया गाउँपालिका –४ मुडाका १८ वर्षका आनन्द ठकुरीको पछाडि मोटरसाइकलमा सवार २३ वर्षका दिपेन्द्र बोहराको साथबाट १८ ग्राम लागु औषध (खैरो हेरोईन) जस्तो देखिने धुलो पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरिइएको हो । इलाका प्रहरी कार्यालय भजनी र सशस्त्र प्रहरी बल बिओपी पगियापासारबाट खटिएको संयुक्त प्रहरी गस्ती टोलीले उनीहरलाई भजनी नगरपालिका –५ कौवाखेडाबाट पक्राउ गरेको हो । मोटरसाइकल सहित दुबै जनालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय भजनीमा राखि थप अनुसन्धान भइरहेको प्रहरी कार्यलयले जनाएको छ ।
मिटरब्याज पीडितका माग समेट्न अर्को वार्ता समिति गठन काठमाडौं। सरकारले मिटरब्याज पीडितसँग वार्ता गर्न गृह मन्त्रालयका सहसचिव प्रदीपकुमार कोइरालाको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ। अघिल्लो साता नै सरकारले मिटरब्याज पीडितको समस्या समाधान गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा अधिकार सम्पन्न आयोग बनाइसके पनि ‘मिटरब्याज तथा ठगी विरुद्ध किसान–मजदुर सङ्घर्ष समिति’ नामक पीडितको सङ्गठनले आन्दोलन जारी राखेकामा उनीहरुको मागलाई समेट्ने गरी वार्ता समिति बनेको हो। पाँच सदस्यीय वार्ता समितिमा प्रधानमन्त्री कार्यालयका उपसचिव उमाकान्त अधिकारी, कानुन मन्त्रालयका उपसचिव जङ्गबहादुर डाँगी तथा प्रहरी उपरीक्षक दिनेशराज मैनाली सदस्य छन्। गृह मन्त्रालयका उपसचिव दीलकुमार तामाङ सदस्य सचिव छन्। उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले पीडितलाई अविलम्ब सम्बोधन गर्न निर्देशन दिएको र समितिले तत्काल आवश्यक पहल थाल्ने गृह मन्त्रालयका प्रवक्ता जीतेन्द्र बस्नेतले जानकारी दिए।
नेपाली नागरिकता लिने तिब्बती शरणार्थी पक्राउ काठमाडौँ । उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले नेपाली नागरिकतासहित तिब्बतियन शरणार्थीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तिब्बतमा जन्म भई शरणार्थीका रुपमा काठमाडौँस्थित बौद्ध तुसाल क्याम्पमा बसोबास गर्ने २७ वर्षीया निमाल्हामो गुरुङ रहेको प्रहरीले जनाएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार निज शरणार्थी तिब्बतबाट भारतको विहार, दिल्ली हँदै आई विगत दुई वर्षदेखि बौद्धको बुद्ध तुसाल क्याम्पमा बसोबास गर्ने गरेको तथा निजले क्याम्पमा बसोबास गर्ने व्यक्तिमार्फत नेपाली नागरिकता कृष्णबहादुर कटुवाललाई नागरिकता बनाउन सम्पर्क गरेको पाइएको छ । यसैगरी कटुवालले गुरुङको नेपाली नागरिकता बनाइदिए वापत रु पाँच लाख लिएको प्रहरी अनुसन्धानबाट खुलेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । काठमाडाँैका विभिन्न ठाँउमा बसोबास गर्ने तिब्बतियन शरणार्थीले सरकारी कार्यालयका कागजात, छाप तथा कर्मचारीको दस्तखतसमेत किर्ते गरी झुट्टा लिखत तथा नक्कली सिफारिस तयार गरेको खुलेको छ । साथै नक्कली बुबा खडा गरेर जिल्ला प्रशासन कार्यालय काठमाडाँैबाट गुरुङले नेपाली नागरिकता लिएको प्रहरी अनुसन्धानबाट खुलेको उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौँका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । नेपाली नागरिकता प्रमाणपत्रसहित पक्राउ परेकी गुरुङलाई नागरिकता ऐन तथा लिखत सम्बन्धी कसुरमा आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
मुगुमा १५४ जनाको मोतिविन्दुको निःशुल्क शल्यक्रिया काठमाडौं । नेपाल नेत्रज्योति सङ्घको आयोजनामा हिमाली जिल्ला मुगुको छायाँनाथ रारा नगरपालिका र खत्याड गाउँपालिकाका एक सय १८ जनाको आँखा परीक्षण र एक सय ५४ जनाको मोतिविन्दुको निःशुल्क उपचार गरिएको छ । यही चैत १५ देखि १७ गतेसम्म छायाँनाथ रारा नगरपालिका गमगढीमा सञ्चालित शिविरमा छ सय ४७ जना बिरामीहरुको निःशुल्क आँखा जाँच गरिएको थियो । आँखा परीक्षण गराएका बिरामीमध्येमा मोतिविन्दु देखिएका ६५ जनाको निःशुल्क शल्यक्रिया गरिएको सङ्घका केन्द्रीय उपाध्यक्ष तिलकबहादुर मल्लले जानकारी दिए । त्यस्तै, मुगुकै खत्याड गाउँपालिकामा चैत २० देखि २२ गतेसम्म सञ्चालन गरिएको शिविरमा चार सय ७१ जनाको आँखा जाँच गर्दा मोतिविन्दु देखिएका ८७ जनाको निःशुल्क शल्यक्रिया गरिएको थियो । जसमा दुईजनाको सामान्य शल्यक्रियासमेत गरिएको थियो । दुईवटा शिविरमार्फत तीन सय ८४ जना बिरामीलाई निःशुल्क चस्मासमेत वितरण गरिएको थियो । नेपाल नेत्रज्योति सङ्घ हिमालय आँखा अस्पताल पोखराका नेत्र अधिकृत गोविन्दनाथ योगीको नेतृत्वमा गएको स्वास्थ्यकर्मीहरुको टोलीले आँखा शिविर सञ्चालन गरेको हो । नेपाल नेत्रज्योति सङ्घ आँखा उपचार केन्द्रले हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोग, नेपाल नेत्रज्योति सङ्घ एकीकृत आँखा, कान स्वास्थ्य कार्यक्रम कर्णालीको आर्थिक सहयोग र आइकेयर फाउन्डेसनको विशेष सहयोगमा शिविरहरु आयोजना गरिएको थियो । नेपाल नेत्रज्याति सङ्घले हाल देशभरमा २७ वटा आँखा अस्पताल तथा एक सय ५० भन्दा बढी आँखा उपचार केन्द्र सञ्चालन गरिरहेको छ । सङ्घले देशभरका आँखा अस्पताल, आँखा उपचारका केन्द्र र विभिन्न आँखा शिविरहरुमार्फत हरेक जिल्लाका नागरिकहरुलाई आँखा उपचार सेवा प्रवाह गर्दै आइरहेको छ ।
लाखौँ रुपैयाँ ठगी गरी एक महिला फरार बारा । बाराको निजगढ नगरपालिका–९ की एक महिलाले लाखौँ रुपैयाँ ठगेर फरार भएकी छिन । निजगढ नगरपालिका–८ मा निक इम्पोरियम प्यान्सी पसल सञ्चालन गर्दै आईरहेकी निलु नामले परिचित मनिला गौतमले दर्जनौँ महिलासँग लाखौँ रुपैयाँ सापटी लिएर फरार भएकी हुन् । फरार ३३ वर्षिया महिला गौतमले विभिन्न महिलाहरुसँग थप टिपर खरिद गरि व्यवसाय सञ्चालन गर्ने तथा श्रीमानलाई विदेश पठाउनको लागि पैसा आवश्यक परेको भन्दै रकम मागेको पीडित महिलाहरु बताउँछन् । व्यावसाय सञ्चालन गर्ने भन्दै विभिन्न समयमा आफुसँग लाखौँ मागेको निजगढ ९ बस्ने रंजिता कुमारी श्रेष्ठले गुनासो गरिन् । उनका अनुसार केही समय पहिले मात्र नयाँ टिपर खरिद गर्ने रकम अपुग भएको भन्दै गौतमले श्रेष्ठसंग पैसा सापटी लिएकी थिइन्। यस्तै गौतमले अन्य कयौं महिलाहरुलाई समेत आकर्षक ब्याज दिने प्रलोभन देखाएर लाखौँ रकम असुल गरी फरार भएको पिडितहरूको भनाई छ । गौतमले छिमेकी तथा आफन्तसंग विभिन्न बहाना बनाएर लाखौँ रुपैयाँ सापटी लिईको बताईएको छ । अधिकांशले कागज नगरी उनलाई रकम दिएका छन् । गौतमले छिमेकी र आफन्तबाट सहकारीको ऋण तिर्न, छोराछोरीको पढाइ खर्च तिर्न, उपचार गर्ने, थप टिफर खरिद गरि व्यवसाय सञ्चालन गर्ने बहानामा रकम सापट माग्ने गरेका थिए । “छरछिमेकमा सरसापटी चलाउनु पर्छ भन्ने सोचेर कागज नगरी पैसा दियौँ,” पीडित रंजिता कुमारी श्रेष्ठले भनिन । जिल्ला प्रहरी कार्यालय बारामा गौतमविरुद्ध जाहेरीसमेत परेको छ भने फरार रहेकी गौतमको खोजी भइरहेको बारा प्रहरीले जनाएको छ ।
डब्लुएचओले धुलिखेललाई पहिलो स्वस्थ सहरमा सूचीकृत गर्दै काभ्रेपलाञ्चोक। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकालाई नेपालको पहिलो स्वस्थ सहरका रूपमा सूचीकृत गर्ने भएको छ। काठमाडौँबाट ३० किलोमिटर पूर्वमा अवस्थित पर्यटकीय नगर धुलिखेललाई डब्लुएचओले करिब एक महिनाभित्र पहिलो स्वस्थ सहरको मान्यता दिई सदस्यता प्रदान गर्ने जनाइएको छ। दिगो विकास लक्ष्यका चार लक्ष्यअन्तर्गत शिक्षा, स्वास्थ्य, खानेपानी र गरिबी निवारणको क्षेत्रमा काम गरिरहेका विश्वका आठ देशमा धुलिखेलको अनुकरण भइरहेको धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जूले जानकारी दिए। “डब्लुएचओले करिब एक महिनाभित्र सूचीकृत गरी नेपालको पहिलो स्वस्थ सहरको सदस्यता प्रदान गर्ने तयारी गरेको जानकारी आएको छ”, उनले भने। प्रमुख ब्याञ्जूका अनुसार नगरले स्वस्थ सहरका मान्यता प्राप्त गर्न स्वास्थ्य, पूर्वाधार र गरिबी निवारणको क्षेत्रमा तयारी गरिरहेको छ । भौतिक पूर्वाधारसँगै मानवीय आधारभूत आवश्यकतालाई पनि विस्तार गर्दै लगिएको उनको भनाइ थियो। “विश्वका अन्य देशले समेत धुलिखेलको विकासको मोडललाई अनुकरण गरिरहेका छन्, अब हामी रोग नै लाग्न नदिन के गर्ने भन्ने योजनामा केन्द्रित भएका छौँ”, ब्याञ्जूले भने। नगरले हाल रू २३ करोडको लागतमा फोहरमैला व्यवस्थापनको काम गरिरहेको छ भने बनेपाको फोहर काठमाडौँ पुर्‍याउन नपर्ने तथा पनौती नगरको फोहर सङ्कलन गरी धुलिखेलमै व्यवस्थापन गर्ने गरी योजना अघि सारेको छ। सङ्कलन गरिएको फोहरबाट ग्यास, मल बनाइने उनले बताए। केही समयमा नै सहरी क्षेत्रका घरबाट निस्कने ३१ प्रतिशत फोहरपानी प्रशोधन गर्न ‘ट्रिटमेन्ट प्लान्ट’ सुधार गर्ने नगरको लक्ष्य छ। नगरका ८६ प्रतिशत घरमा स्वच्छ खानेपानी उपलब्ध गराइएको छ भने पोषणयुक्त धुलिखेल नगर निर्माणका लागि युनिसेफसँगको साझेदारीमा काम भइरहेको छ। यहाँका ७२ प्रतिशत स्थानीयलाई स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध गराइएको नगरप्रमुख ब्याञ्जूले जानकारी दिए। उनका अनुसार सबै नागरिकलाई उपचारको पहुँच पुर्‍याउने उद्देश्यले नगरभित्रका सबै वडामा स्वास्थ्य केन्द्र स्थापना गरी घरदैलो कार्यक्रमका लागि स्वास्थ्यकर्मी खटाउने तयारी भइरहेको छ। नगरलाई क्षयरोगमुक्त बनाउने अभियानमा पनि पालिकाले काम गरिरहेको छ भने ‘आरोग्य सहर’ अभियान सञ्चालन गरिएको छ। उक्त अभियानको डब्लुएचओका हेडक्र्वाटर प्रतिनिधि डा टौडिल इस्लाम नेतृत्वको टोलीले यही चैत पहिलो साता अनुगमन गरेको थियो। अनुगमनका क्रममा नगरप्रमुख ब्याञ्जूले स्वास्थ्य नागरिकको पहिलो अधिकार भएको बताउँदै स्वास्थ्यमा सबैको सहज पहुँचका लागि योजना, कार्यक्रम र व्यवस्थापन गरिरहेको टोलीलाई जानकारी गराएका थिए। इस्लामले विश्वमै क्षयरोग महामारीका रूपमा रहेकाले यसको नियन्त्रण र उपचारमा नगरले चालेको अभियानको प्रशंसा गर्दै डब्लुएचओका तर्फबाट आवश्यक सहयोग प्रदान गर्ने आश्वासन दिएका थिए। समयमा नै क्षयरोग पहिचान र परीक्षण हुँदा उपचार गर्न सहज हुने र अन्यत्र फैलन नपाउँदा न्यूनीकरण भई मृत्यु हसनबाट बचाउन सकिने उनले बताए। डब्लुएचओको टोलीले मुलुकका अन्य स्थानीय तहमा पनि क्षयरोगको अवस्थाका बारेमा अवलोकन गरिरहेको छ। धुलिखेलले विश्वमा शून्य कार्वन उत्र्सजन गर्ने सहरका रूपमा चिनाउने गरी काम अघि बढाएको छ। जिवाश्म इन्धन अप्रसार सन्धि अभियान कार्यान्वयनलाई पहिलो प्राथमिकतामा राखिएको नगरपालिका कार्यालयले जनाएको छ। यस्तै, नगरले सहरीकरणका कारण उत्पन्न हुने वातावरण प्रदूषण एवं स्वास्थ्य समस्यालाई वैज्ञानिक तवरबाट समाधान गर्न ‘खाद्य हरियाली सहर’ कार्यक्रमको समेत योजना बनाएको छ। उक्त कार्यक्रम सञ्चालनका लागि नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) र धुलिखेल नगरपालिकाबीच समझदारी भएको छ। वैज्ञानिक माध्यमबाट नगरलाई दिगो तथा खाद्य हरियाली सहर बनाउन नगरसँग सम्झौता भएको नाष्टले जनाएको छ। कार्यक्रमले वातावरण प्रदूषण तथा स्वास्थ्य समस्या समाधानका पक्षमा दिगोरूपमा वैज्ञानिक ढङ्गबाट समाधान दिने जनाइएको छ। यस अभियान पूर्ण रूपमा सञ्चालनमा आए नगर सफा–सुन्दर हुने जनाइएको छ। साथै कार्यक्रम लागू भएपछि स्थानीय स्रोतको पहिचान र उपयोग गर्न सकिनाका साथै बेरोजगारी घट्ने नगरप्रमुख ब्याञ्जूको भनाइ थियो। नगरले लिएको ‘स्वच्छ र स्वस्थ’ सहरको अवधारणा पूरा गर्न यस कार्यक्रमले ठूलो मद्दत पुर्‍याउने अपेक्षा गरिएको छ। जडीबुटीको उत्पादन, प्रयोग तथा अनुसन्धानसमेत कार्यक्रममा समावेश गरिनेछ। सफा र सुन्दर सहर बनाउनका लागि उक्त कार्यक्रमअन्तर्गत युवा उद्यमशीलता, रोजगारी व्यवस्थापन, दिगोरूपमा स्वच्छ, सफा र सुन्दर नगर निर्माण गर्ने औषधिजन्य बिरुवा, च्याउ तथा फलफूलको वैज्ञानिक तवरबाट प्रशोधन, भण्डारण र बजारीकरणलगायत काम हुने जनाइएकोे छ। नगर क्षेत्रभित्र कोइला प्रयोग गर्न प्रतिबन्ध लगाएको खबर गत वर्ष नोभेम्बर पहिलो साता स्कटल्याण्डको ग्लास्गो सहरमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२६)मा चर्चाको विषय बनेको थियो। खनिजतत्व उत्खनन नगर्ने, वातावरणमैत्री विकास गर्ने र आगामी पाँच वर्षमा स्थानीय सबैका घरबाट निस्केको फोहरपानी प्रशोधन गरी पुनः प्रयोग गर्ने योजना बनाएर काम भइरहेको नगरले जनाएको छ। नगर क्षेत्रभित्र हाल कोइला प्रयोगलाई पूर्णरूपमा प्रतिबन्ध गरिएको छ।
सिंहदरवारअगाडि मिटरब्याज पीडितको आन्दोलन काठमाडौं। मिटरब्याज पीडितले शुुक्ररबार प्रमुख प्रशासनिक केन्द्र सिंहदरवार अगाडि प्रदर्शन गरेका छन्। केही दिनयता उनीहरूले दैनिकजसो प्रदर्शन गर्दै आएका छन्। विभिन्न माग राखेर काठमाडौं केन्द्रित आन्दोलन गरेका उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेेटेर ध्यानाकर्षण गराएका थिए ।
भरतपुर अस्पतालमा बिरामीलाई सास्ती, बहिरंग सेवामा डाक्टर भेट्नै चारदिन लाग्ने चितवन। भरतपुर महानगरपालिका–१७ का वृद्ध मानबहादुर शाही विगत चार दिनदेखि भरतपुर अस्पतालको बहिरंग सेवामा रुमलिइरहेका छन्। आज बहिरङ्ग विभागमा भेटिएका उनले मिर्गौलाको पत्थरी झिक्नका लागि धेरै दुःख पाएको गुनासो गरे । उनले भने, “लाइन बसेर टिकट काटेर डाक्टर भेट्नै चार दिन लाग्यो”, उनले गुनासो गर्दै भने, “सिस्टम भएन, कर्मचारी थोरै भए सुधार गरेर लैजानुपर्छ ।” मिर्गौलामा पत्थरी भएको र शल्यक्रिया गर्नुपर्ने चिकित्सकले जनाएपछि अब कहिले शल्यक्रिया हुने हो अझै टुङ्गो नलागेको उनले बताए। अस्पतालमा शल्यक्रियाका लागि महिनौँ पालो कुर्नुपर्ने अर्को बाध्यता रहेको छ । भरतपुर महानगरपालिका–७ का सुनिल ढकाल मर्किएको हातको एक्स–रे गर्न बिहीबारदेखि अस्पतालकै बहिरङ्ग सेवामा घुमिरहेका छन्। उनले भने, “आज एक्स–रे गर्न पाए आइतबार डाक्टरलाई देखाउँथे ।” उनले एक्स–रे गरेर रिपोर्ट देखाउँन मात्रै तीन दिन समय लाग्ने बताउँदै भिड नियन्त्रण नहुँदा समस्या भएको बताए । उनले गुनासो व्यक्त गरे, “चिकित्सक कर्मचारी आफ्नो मान्छे भए भित्रबाट फटाफट काम हुँदोरहेछ, सर्वसाधारणलाई सास्ती ।” उनी जस्तै बिहीबार आमाको उपचार गर्न माडीबाट आउनुभएका देवराज बरालको गुनासो पनि उस्तै छ । यी प्रतिनिधि पात्र मात्रै होइन, अस्पताल आउने धेरैको अवस्था यस्तै छ । अस्पतालमा भौतिक पूर्वाधार निर्माण र उपकरण पर्याप्त भएर पनि सर्वसाधारणले सहज सेवा पाउन सकेका छैनन् । सामान्य बहिरंग सेवा (ओपिडी) सेवा लिनसमेत चार दिनसम्म धाउनुपर्ने बाध्यता अस्पतालमा छ । अस्पताल केन्द्रीय भएसँगै सहज उपचार सेवा पाउने आम नागरिकको अपेक्षाअनुरुपको सेवा अझै अस्पतालले दिन सकेको छैन । विशेषज्ञता हासिल गरेका चिकित्सक भेट्न बिरामीलाई मुस्किल पर्ने गरेको छ । सरकारी अस्पताल भए पनि कतिपय शुल्क निजीसरह छन् भने बीमामार्फत पाउनुपर्ने औषधि अस्पतालले खरिद नगर्दा बिरामीले नगदमा खरिद गर्न बाध्य छन् । आफ्ना आफन्तको उपचारका लागि आएका जोकोहीलाई भेटेर सोध्दै गर्दा सेवामा गुनासैगुनासा सुन्ने गरिन्छ । पत्रकार रमेशकुमार पौडेलले विगतको तुलनामा केही सुधार हुँदै गए पनि सुधार गर्नुपर्ने धेरै विषय रहेको बताए। उनले भने, “चिकित्सक स्वास्थ्यकर्मीले बिरामीले खोजेको जस्तै व्यवहार पनि पाउँदैनन् ।” उनले राति ९ बजेपछि भिडियो एक्स–रे गर्न अस्पताल बाहिर जानु परेको गुनासो गरे। अस्पतालको बहिरङ्ग सेवामा मेडिकल अधिकृत राख्ने र अतिरिक्त शुल्क लिएर विशेषज्ञले परीक्षण गर्नेक्रम बढ्दो छ । बिरामीलाई अतिरिक्त शुल्क लिन बाध्य पार्ने गरिएको गुनासो गरे। बीमाका बिरामीले जनरलमा टिकट काटेर परीक्षणपछि नगद रु पाँच सय तिरेर अतिरिक्त सेवा (इएचएस) लिन बाध्य पारिने गरिएको छ । बीमामा एक हजार ७८ प्रकारका औषधि उल्लेख भए पनि अस्पतालले समयमा खरिद नगर्दा न्यून सङ्ख्यामा मात्रै पाइने गरेको छ । यसका कारण बिरामी औषधि खरिदका लागि बाहिर जान बाध्य छन् । अस्पतालका सबैजसो विभागमा समस्यै समस्याका चाङ छन् । समस्या समाधानतर्फ अस्पताल प्रशासन नलागेको गुनासो सुन्ने गरिन्छ । अस्पताल सञ्चालक समितिका अध्यक्ष राजु पौडेल जनशक्ति र पूर्वाधार थप नगरेसम्म सेवा सुधार गर्न नसकिने उल्ल्लेख गरे । गुनासा र समस्या रहेको स्वीकार्दै उहाँले सरकारको एक सय ५० श्ययाको जनशक्तिमा छ सय श्यया चल्दा समस्या भएको बताए। मन्त्रालयले ‘ओएनएम सर्भे’ गरेर एक हजार ८७ दरबन्दी आवश्यक पर्ने उल्लेख गरे पनि नीतिगत निर्णय भएर कार्यान्वयनमा नआएका कारण समस्या रहेको उनको भनाइ छ । समयमा औषधि खरिद गर्न नसक्दा बीमाको सबै औषधि बिरामीले पाउन नसकेको सञ्चालक समितिका अध्यक्ष बताए। अस्पतालका कतिपय चिकित्सक–स्वास्थ्यकर्मी र कर्मचारीले आफ्नो जिम्मेवारी पूरा नगर्ने र प्रशासनिक निकायको निर्देशन पालना नगर्दा अस्पतालमा समस्या आउने गरेको छ ।
जबरजस्ती करणी गरेको अभियोगमा ६० वर्षीय पुरुष पक्राउ ओखलढुङगा। जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुषलाई पक्राउ गरेको छ। २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मानेभन्ज्याङ गाउँपालिका-२ वाक्सा बस्ने ६० वर्षीय गोपाल कटवाललाई प्रहरीले पक्राउ गरेको हो। कटवालले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
अध्ययन गर्न विदेश जाने विद्यार्थी बढे काठमाडौँ। पछिल्लो समय वैदेशिक अध्ययनका लागि विद्यार्थीको विदेश मोह बढ्न थालेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाको तत्थ्याङ्कानुसार गएको साउनदेखि यही चैत २२ गतेसम्म ८० हजार नेपाली विद्यार्थीले विदेशमा अध्ययन गर्न जान अनुमतिपत्र (एनओसी) लिएका छन्। उक्त शाखाले एनओसीका लागि अनलाइन आवेदन दिने व्यवस्था मिलाएको छ। अनलाइनमा आवेदन आएको एक दिनमा रुजु गर्ने र अर्को दिन एनओसी दिन थालिएको छ। बिहीबारमात्रै छ सय नौ अनलाइन आवेदन परेकामा पाँच सय २९ आवेदन स्वीकृत भएको वैदेशिक अध्ययन अनुमति शाखाका उपसचिव वासुदेव वस्तीले जानकारी दिए। उनका अनुसार आवेदन स्वीकृत भएका पाँच सय आवेदकले आज एनओसी पत्र पाउनेछन्। वैदेशिक अध्ययन अनुमति शाखाका अनुसार विसं २०७८ को वैशाखमा एक हजार छ सय ९६, जेठमा चार सय ५६, असारमा तीन हजार एक सय नौ, साउनमा पाँच हजार तीन सय ४१, भदौमा पाँच हजार आठ सय ६०, असोजमा चार हजार नौ सय ६३, कात्तिकमा तीन हजार सात सय ५७, मङ्सिरमा पाँच हजार छ सय ९५, पुसमा सात हजार ८५, माघमा नौ हजार पाँच सय १३, फागुनमा १३ हजार नौ सय ७२ र चैतमा १६ हजार तीन सय ४८ जनाले वैदेशिक अध्ययनका लागि अध्ययन अनुमतिपत्र (एनओसी) लिएका थिए। यस वर्षको वैशाखमा १५ हजार सात सय ७१ र जेठमा १४ हजार छ सय १३ जनाले वैदेशिक अध्ययनका लागि अध्ययन अनुमतिपत्र लिएका छन्। अध्ययनका लागि अष्ट्रेलिया, जापान, अमेरिका र क्यानडा जानेको सङ्ख्या बढी छ। हाल औसतमा दैनिक छ सय जनाले वैदेशिक अध्ययन अनुमतिपत्रका लागि आवेदन दिइरहेको शाखाले जनाएको छ। अनलाइनबाट आवेदन दिने, रुजु गर्ने र एनओसी पाउने समय सम्बन्धित विद्यार्थीलाई जानकारी गराउन थालेपछि लाइन बस्नेको सङ्ख्या घट्नाका साथै सेवा प्रवाह सहज र छिटो भएको एनओसीले जिकिर गरेको छ।
रासायनिक मलको विकल्पमा जैविक मल झापा। खेतीपातीको समयमा मलको अभाव हुँदा धेरै किसान चिन्तित बनिरहेका बेला झापाका किसानले जनस्तरबाटै रासायनिक मलको विकल्प खोज्दै जैविक मल बनाउने अभियान सुरु गरेका छन्। झापामा ‘वेस्ट डिकम्पोजर’ प्रविधिबाट जैविक मल बनाउने अभियान लोकप्रिय बन्दै गएको छ। रासायनिक मलमा मुलुक पूर्णरुपमा परनिर्भर हुनुपर्दा किसानले चाहिएका बेला चाहिए जति मल कहिल्यै पाउन सकेका छैनन्। किसानलाई आवश्यक रासायनिक मल उपलब्ध गराउन नसकिने अवस्था हरेक सरकारको असफलताको मापन बन्ने गरेको छ। तर, प्रयास गर्ने हो भने मुलुकमै रासायनिक मलको खपत घटाएर जैविक मलमा आत्मनिर्भर बन्न सकिने सम्भावनालाई झापाका किसानले उजागर गरेका छन्। रासायनिक मलको प्रयोग न्यूनीकरण गर्न, माटोको उर्वरा शक्ति प्राकृतिक माध्यमबाटै वृद्धि गर्न र कृषि उत्पादनलाई विषादीमुक्त बनाउन भारतका कृषि वैज्ञानिक डा कृष्णचन्द्रले अनुसन्धानमार्फत प्रयोगमा ल्याएको ‘वेस्ट डिकम्पोजर’ प्रविधिलाई अनुकरण गर्दै अभियानका रुपमा प्रयोगमा ल्याइएको सुनगाभा अर्गानिक कृषि फार्मका सञ्चालक भीम कुँवर बताउँछन्। “रासायनिक मलको विकल्प खोज्न ढिला भइसक्यो, आफ्नै स्रोत र साधनमा आधारित जैविक मल बनाउन सरकारले पनि प्रोत्साहित गर्नुपर्छ”, जैविक मल बनाउने र प्रयोगमा ल्याउने अभियानमा समर्पित कुँवर भन्छन्, “वेस्ट डिकम्पोजर यस्तो विधि हो जसलाई प्रयोगमा ल्याउँदा हाम्रो मुलुकमा एकातिर अग्र्यानिक कृषि क्रान्ति हुन्छ भने रासायनिक मलका नाममा बर्सेनि विदेशिने अर्बौं रुपैयाँ जोगिन्छ।” नेपालमा जैविक मलका विषयमा चर्चा नभएको होइन। वर्षौंदेखि यसका लागि प्रयास भइरहे तापनि रासायनिक मलको निर्भरता झन् बढ्दो अवस्थामा छ। रासायनिक मलको अन्धाधुन्ध प्रयोगले माटोको उर्वराशक्ति ह्रास भइरहेको र कृषिका लागि आवश्यक पर्ने शुक्ष्म जीवको नाश भइरहेको जैविक मलका अभियन्ताहरु बताउँछन्। “माटोमा जभाभावी रासायनिक मलको प्रयोग हानिकारक हुन्छ, यसलाई न्यूनीकरण गर्ने वा प्रतिस्थापन गर्ने सबैभन्दा सजिलो उपाय नै जैविक मलको उत्पादन हो”, जैविक मलका अभियन्ता कुँवर भन्छन्। वेस्ट डिकम्पोजर प्रविधिबाट उत्पादित मलले रासायनिक मलको प्रयोगले भन्दा दुगुना उत्पादन दिने भएकाले किसानका लागि यो बरदान सावित भइरहेको उनको अनुभव छ। के हो त ‘वेस्ट डिकम्पोजर’ प्रविधि ? भारतीय सरकारको स्वामित्वमा रहेको राष्ट्रिय जैविक खेती केन्द्रका पूर्वनिर्देशक एवं कृषि वैज्ञानिक डा कृष्णचन्द्रले बेद र कृषि विज्ञानको गहिरो अध्ययनपछि जैविक मल बनाउन ‘वेस्ट डिकम्पोजर’ प्रविधि पत्ता लगाएको अभियन्ता कुँवर दाबी गर्छन्। उनका अनुसार जुरो भएको भारतीय रैथाने गाईको गोबर र गहुतमा रहेको ८५ वटा ब्याक्टेरिया प्रयोगशालामा मिसाएर डा कृष्णचन्द्रले ‘वेस्ट डिकम्पोजर’ झोल बनाएका थिए। यसमा शरीरमा नष्ट हुन लागेको कोशिकालाई पुनःजागृत गर्ने क्षमता भएको व्याक्टेरिया पनि समिश्रण गरिएको उनले बताए। राइजोरियम, एजोटोब्याक्ट्रोल, एजोस्पिरिजमलगायतका ८५ प्रकारका व्याक्टेरियाको समिश्रण झोल नै ‘वेस्ट डिकम्पोजर’ हो। यसलाई दही बनाउन जोडन प्रयोग गरिए झैँ जैविक मल बनाउन बीउ र मलका रुपमा प्रयोग हुँदै आएको छ। माटोलाई चाहिने सुक्ष्म जीव र बोटबिरुवालाई हुर्किन र फल्न हावा र मलमा पाइने तत्वलाई खानयोग्य बनाउने जीवाणुको घर नै ‘वेस्ट डिकम्पोजर’ हो। कुँवरका अनुसार २०० लिटर झोल मल बनाउन ५० एमएल बीउ ‘वेस्ट डिकम्पोजर’मा दुई केजी सख्खर मिसाएर कम्तीमा सात दिन बिर्को बन्द गरी ड्रममा राखिन्छ। त्यही झोलमा ब्याक्टेरिया फैलिएर जैविक गुणयुक्त मल निर्माण हुन्छ। यो मलमा नाइट्रोजन, फस्फोरसलगायतका तत्व प्रशस्तमात्रामा पाइन्छ। उनले बनाएको मललाई ‘अमृत मल’ नामकरण गरेका छन्। सो मललाई एक कट्ठा खेतमा दुई सय लिटरका दरले सिँचाइ गरिन्छ। सिँचाइको पानीमा मललाई मिसाएर खेतमा मिसाउने पनि चलन छ। सोझै बालीबिरुवामा स्प्रे गरेरसमेत यो जैविक मल प्रयोग गर्न सकिने उनको भनाइ छ। यो विधिबाट उत्पादित तरकारी तथा फलफूल स्वादिलो र विषादीरहित हुने उनी बताउँछन्। छ वर्षदेखि अर्गानिक कृषि अभियानमा सक्रिय कुँवर पञ्चायती शासनविरुद्ध आन्दोलन गर्ने क्रममा लामो अवधि कारागार बसेका थिए। उनी अहिले सक्रिय राजनीतिभन्दा अलग रहेर अर्गानिक कृषि अभियानमा लागेका छन्। भद्रपुर नगरपालिका–१० मा रहेको उनको कृषि फार्ममा काउली, गाजर, बन्दालगायतका तरकारी फलिरहेका छन्। उनको फार्मबाट इलाम, धनकुटा, मोरङ, पाँचथरलगायतका जिल्लाका सयौँ किसानले ‘वेस्ट डिकम्पोजर’को तरल बीउ लगिरहेका छन् भने उनले कृषि ज्ञान केन्द्र झापा र एनएमसी नमुना कृषि परियोजनामार्फत कृषकलाई तालिम प्रदान गरिसकेका छन्। पालिकाले बनायो ‘कमल मल’ ‘वेस्ट डिकम्पोजर’ प्रविधिमा आधारित भएर किसानलाई जैविक मलको प्रचलन गर्न प्रोत्साहित गर्ने पहिलो स्थानीय सरकार बनेको छ कमल गाउँपालिका। पालिकाले उत्पादित ‘वेस्ट डिकम्पोजर’ जैविक मललाई ‘कमल मल’को नाम दिएको छ। कमल गाउँपालिकाले ‘वेस्ट डिकम्पोजर’ प्रविधिमार्फत जैविक मल उत्पादन गरेर २०७६ सालदेखि पालिकाका किसानलाई निःशुल्क वितरण गरिरहेको पालिकाका कृषि शाखाका प्रमुख महेन्द्र बोहोराले बताए। भारतमा कृषि तालिममा जाँदा ‘वेस्ट डिकम्पोजर’ प्रविधिका बारेमा जानेको सीपलाई पालिकामा प्रयोगमा ल्याउँदा खुसी लागेको उनले बताए। गत वर्ष पालिकाले सातै वडामा एक लाख लिटर जैविक झोल मल वितरण गरेको थियो। पालिकाले कमल प्राङ्गारिक मल, कमल युरिया, जीवामृत मल, झारपातबाट र नीमको पातबाट मल उत्पादन गर्दै आएको छ। कृषि अनुसन्धान केन्द्र तरहरामा पालिकाले उत्पादन गरेको जैविक मलको ‘ट्रिटमेन्ट ट्रायल’ गराउँदा अन्य मलभन्दा चारगुणा ज्यादा प्रभावकारी पुष्टि भएको कृषि शाखाका प्रमुख बोहोराले बताए। “‘वेस्ट डिकम्पोजर’ विधिबाट बनाइएको जैविक मलको गुणस्तर अरु मलको तुलनमा ज्यादै प्रभावकारी सावित भएपछि किसान निकै आकर्षित हुनुभएको छ”, उनले भने, “हामी पालिकाका सबै किसानलाई जैविक मल उपलब्ध गराउन चाहन्छौँ।” कमल गाउँपालिकाका एक सय ५० किसानले विगत तीन वर्षदेखि पूर्णरुपमा जैविक मलको प्रयोग गरिरहेको र यो क्रम आगामी दिनमा अझै बढेर जाने अनुमान गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्य बताउँछन्। हाल पालिकाले दुई स्थानमा जैविक मल उत्पादन गर्ने उद्योग नै सञ्चालन गरेको उनले जानकारी दिए। सन्तुष्ट छन् किसान ‘वेस्ट डिकम्पोजर’ मल प्रयोगबाट माटोको उपचार हुनुका साथै उत्पादन वृद्धि भएकामा किसानहरु खुसी छन्। उनीहरु राज्यले रासायनिक मललाई प्रतिस्थापन गर्न जैविक मलको उत्पादन र प्रयोगलाई प्रोत्साहित गर्नुपर्ने बताउँछन्। मेचीनगर–१४ का किसान डिल्ली खतिवडाले तीन वर्षअघि यु–ट्युबबाट अर्गानिक खेतीको अध्ययन गर्दै जाँदा ‘वेस्ट डिकम्पोजर’का बारेमा थाहा पाएको बताए। उनको जागृत कृषि फार्म सञ्चालनमा रहेको छ। “मैले यही प्रविधिबाट अर्गानिक खेती गरिरहेको तीन वर्ष जति भयो”, उनले भने, “रासायनिक मलको जथाभावी प्रयोगले हाम्रो माटो बिरामी भइसकेको छ। ‘वेस्ट डिकम्पोजर’मा भएको व्याक्टेरियाले त्यो बिरामी माटोको उपचार गरेर उर्बर बनाउँदो रहेछ।” रासायनिक मलका व्यापारीको प्रभावमा परेर राज्य संयन्त्रले जैविक मलको प्रवद्र्धनमा कञ्जुस्याँइ गरिरहेको उनको आरोप छ। “रासायनिक मलको विकल्प हो भनेर हामी कराइरहेका छौँ, राज्यको जिम्मेवार निकायले सुन्दै सुन्दैन”, उनी भन्छन्। मेचीनगर–१२ का मञ्जुल मेचेले पनि ‘वेस्ट डिकम्पोजर’ प्रविधिबाट जैविक मल उत्पादन गरी कृषि फार्म सञ्चालन गर्दै आएका छन्। दुई बिगाहा जग्गा भाडामा लिएर उनले सञ्चालन गर्दै आएको कृषि फार्ममा उत्पादन भएका तरकारी खरिद गर्न टाढादेखिका ग्राहकको हारालुछ हुने गरेको छ। एउटै बोटमा उनले १५ किलोसम्म टमाटर फलाएका छन्। “म अर्गानिक उत्पादनमा आउनुभन्दा पहिले रासायनिक मलको प्रयोग गरेर खेती गर्थें”, उनले अनुभव सुनाउँदै भने,“तर जब मैले ‘वेस्ट डिकम्पोजर’ प्रविधिको जैविक मल प्रयाग गर्न थालेँ। मेरो खेतीमा तरकारी बालीको उत्पादन दोब्बर बढ्यो।” रासायनिक मलको ज्यादा प्रयोगपछि माटोमा विषाक्तता बढेको हुँदा त्यसलाई हटाउन जैविक मलको विकल्प छैन। नेपालमा बर्सेनि सात लाख मेट्रिक टन युरिया मल आवश्यक हुन्छ भने अभाव नहुने गरी वितरण गर्ने हो भने रु ३० अर्ब रासायनिक मल खरिदमा विदेश पुग्छ। देशमा तत्काल रासायनिक मलको काराखाना खुल्ने सम्भावना न्यून भएको बेला राज्यले ‘वेस्ट डिकम्पोजर’ जस्ता जैविक मल बनाउने सरल, सस्तो र प्रभावकारी प्रविधिको प्रयोगमा कमल गाउँपालिकाले झैँ जोड दिन आवश्यक भइसकेको छ।
विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा सात जनाको मृत्यु काठमाडौँ। विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ। रामेछाप, मन्थली नगरपालिका-७ कौछेनी मानेखोपस्थित सडकमा मन्थलीबाट कौछेनीतर्फ जाँदै गरेको बा.११ च ५५३ नम्बरको बोलेरो जिप सडकबाट अन्दाजी १ सय ५० मिटर तल खसेर बिहीबार दिउँसो दुर्घटना हुँदा जिपमा सवार ५ जनाको मृत्यु भएको छ। दुर्घटनामा मन्थली नगरपालिका-७ कौछिनी बस्ने ८२ वर्षीय नन्दमाया भण्डारी समेत ४ जनाको घटनास्थलमै र सोही नगरपालिका कौछेनी बस्ने ५० वर्षीय दल बहादुर आले मगरको सामुदायिक अस्पताल मन्थलीमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका जिपमा सवारमध्ये ८ जनाको मन्थली अस्पतालमा उपचार भइरहेको छ भने १ जनालाई धुलिखेल अस्पताल काभ्रेमा र २ जनालाई अपाङ्ग अस्पताल जोरपाटी काठमाडौंमा थप उपचारको लागि पठाइएको छ। सप्तरी, बोदेबर्साइन नगरपालिका-२ बैरियास्थित सडकमा को.१७ प ९४७५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-५ भाटिन बस्ने १७ वर्षीय सागर पंडितको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको जिवन ज्योति अस्पताल बोदेबर्साइनमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । कैलाली, चुरे गाउँपालिका-६ ओखलढुङ्गास्थित सडकमा सुदूरपश्चिम प्र.०१००२ त ५२६९ नम्बरको ट्याक्टर अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा चालक सोही गाउँपालिका आमथला बस्ने ३८ वर्षीय दान बहादुर सिजालीको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
नेपाल प्रहरीका चार डिआईजी एआईजीमा बढुवा काठमाडौं । नेपाल प्रहरीका चार प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा भएका छन् । शुक्रबार विहान बसेको मन्त्रिपरिषद बैठकले बढुवा समितिले गरेको सिफारिस अनुसार एआइजीमा बढुवा गर्ने निर्णय गरेको हो । डीआईजीहरु सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी र टेकबहादुर तामाङ एआईजीमा बढुवा गरिएको हो । यसअघि टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य एआईजी भएका थिए । उनीहरुको पदस्थापन पनि भइसकेको छ । उनीहरुकै व्याची बसन्तबहादुर कुँवर आइजीपी भएका छन् ।
भोटमा नेपालीको पराक्रममा प्राज्ञहरुको प्रशंसा काठमाडौं। बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. डा. त्रिरत्न मानन्धरले नेपाली व्यापारीहरुले भोटमा गरेको पराक्रमले नेपालको राजधानी काठमाडौंको उन्नती प्रगति भएको बताएका छन्। त्रिभुवन विश्वविद्यालय इतिहास केन्द्रीय विभागले आयोजना गरेको प्रा.डा. तीर्थप्रसाद मिश्रले लेखेको ‘भोटमा नेपाली पहिचान र पराक्रम’ नामक पुस्तकको बुधबार रसियन कल्चर सेन्टरमा विमोचन गर्दै मानन्धरले सो कुरा बताएका हुन्। उनले भोटमा नेपाली व्यापारीहरुको बर्चस्व रहेको बेलाको विगत हेर्दा नेपालीहरु अन्तर्राष्ट्रिय व्यवपारमा पोख्त रहेको पुष्टि हुने बताए। पुस्तकमाथि टिप्पणी गर्दै त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. डा. नवीन प्रकाशजंग शाहले भोट र नेपालबीचको सम्बन्धको बारेमा डा. मिश्रले लेखेको पुस्तकले नेपालीहरुले गौरवान्वित हुने अवसर जुरेको बताए। पुस्तकको टिप्पणी गर्दौ प्रा.डा. राजकुमार पोखरेलले पुस्तकले नेपाली व्यापारीहरुले भोटमा व्यापार गर्न राम्रो अवसर पाएको र भोटले नेपाली व्यापारीहरुलार्ई कोठी खोल्ने सुविधाहरु दिएर नेपालको मुद्रा समेत भोटमा चल्ने अवस्था सृजना हुनुलाई नेपालको राष्ट्रिय पहिचानका लागि यो पुस्तक एउटा दस्तावेज नै भएको बताए। पुस्तकका बारेमा लेखक प्रा. डा. तीर्थप्रसाद मिश्रले सबैको साथ र सहयोगले नियमित रुपमा पुस्तक लेख्ने हौसला प्राप्त भएको बताए। मिश्रको पुस्तक प्रकाशन संयोजक मिलिजुली प्रकासन समूहले गरेको छ। प्राध्यापक मिश्रले पुस्तकको माध्यमबाट नेपाल र भोटको सम्बन्धका बारेमा उजागर गरेर अहिलेको तिब्बतसँगको हाम्रो सम्बन्धलाई पुरानो संझनाका आधारमा नियमित र सक्रिय बनाउन सहयोग पुगोस भन्ने चाहेको बताए। दुई दर्जनभन्दा बढी पुस्तक लेख्नु भएका डा. मिश्रले पछिल्लो समय कोरोनाको कहरको बेला कोरोनाको प्रभाव र आफ्नो जीवनको कथासंग जोडेर दुईबटा पुस्तक सार्वजनिक गरिसकेका छन्। कार्यक्रमको सभापतित्व इतिहास केन्द्रीय विभागका विभागीय प्रमुख विष्णु सापकोटाले गरेका थिए भने उद्घोषण प्रा. डा. घनश्याम भट्टराईले गरेका थिए।
सरकारले बनाएको ‘नमूना बस्ती’ मा समस्याका चाङ बागलुङ । घामपानी ओत्ने बास जमिनसँगै भाँसिएपछि ४८ वर्षीया धनमायाको परिवार पाँच वर्ष अर्कैको घरमा बस्यो। कहिले छिमेकी त कहिले आफन्तको घरमा उहाँहरुका दिन बिते। विसं २०७२ पछि धनमाया दर्जी र १४ परिवार एकैपटक गाउँबाट बिस्थापित भए । भूकम्पले हल्लिएको जमिन एकाएक भाँसिएपछि सबैले गाउँ छोडे । पाँच वर्षपछि धनमायाको परिवारले आफ्नै घर पाएको छ । उनी मात्र होइन काठेखोला गाउँपालिका–५ बिहुँ काहुलेका दश परिवारले पाँच वर्षको कष्टपूर्ण समयपछि गत वर्ष आफ्नै घर पाएका हुन्। काठेखोला–५ मा एकैनासका १० घर बनेका छन् । सरकारले बनाएको ‘नमूना बस्ती’ मा धनपाया, रुपा दर्जीलगायतका परिवार मिलेर बसेका छन् । दशवटै घरमा औषतमा पाँच जनाको परिवार बस्छन् । दुई कोठे घर जोडेर बनाइएका छन् । नमूना बस्तीको जग्गा र घरको एकमुष्ट लालपुर्जा छ । लामो समय आफ्नो घर छोडेर बसेको समुदायले घर त पाए तर भर भने अझै पाएका छैनन् । पुर्खौली घर भएको ठाउँमा घरसँगै गरीखाने सम्पत्ति पहिरोले बगाएको छ । नयाँ घर बनेको ठाउँमा खुर्सानी रोप्ने जग्गासमेत नहुँदा पीडित परिवार समस्यामा छन् । “न खेती गरेर खाने जमिन छ, न पशु पाल्न गोठ”, धनमाया दर्जीले भनिन्,“तरकारी त फलाउन सकिन्थ्यो तर, एक टुक्रा जग्गा छैन ।” मजदुरी गरेर खाने अधिकांश परिवारमा बिहान बेलुका छाक टार्नै समस्या छ । घरायसी प्रयोजनका लागि तरकारीसमेत उत्पादन गर्न नपाउँदा थप समस्या भएको दर्जी बताउँछन्। बस्तीका दशवटै परियारमा यो समस्या छ । ठूलो परिवार भएकालाई नमूना बस्तीमा बनेका घर अपर्याप्त छन् । दुईकोठे घरमा परिवार अटाउनै कठिन हुने स्थानीय रुपा दर्जीले बताइन्। पाहुना आउँदा राख्ने ठाउँको त कुरै नगरौँ । एउटा कोठामा भन्छा र अर्कोमा खाँदीएर बस्नुपरेको पीडा उनीहरुसँग छ । बालबालिका खेल्ने ठाउँको अभाव छ । पीडितले सरकारसँग रोजगारको माग गरेका छन् । नमूना बस्तीमा खानेपानीको अभाव छ । वर्षा यामको पानी व्यवस्थापनका लागि बनाइएको नालीले पानी थेग्दैन । बस्ती वरपर बनाउने भनिएको पदमार्ग र सार्वजनिक सभाहल पनि हालसम्म बनेको छैन् । “कोरोना महामारी अघि रु ४० लाखको योजना थियो, नाली, पानी, भवन तथा बाटोका लागि, तर कामै नभई सकियो”, उपभोक्ता समितिको अध्यक्ष समेत बनेकी धनमायाले भनिन्, “रु आठ लाखको काम गरेर नाली बनाइयो, बाँकी काम गर्न सकिएन, कोरोनापछि बजेट आएन ।” सबै गाउँमा मोटरबाटो पुगे पनि आफूहरुको बस्तीसम्म सडक नपुगेको उनको गुनासो छ । सरकारले आफूहरुका लागि खानेपानी र सडक निर्माण गरिदिए सहज हुने धनमायाको भनाइ छ । “ठूलो घर त हामीले मागेकै छैनौँ, सके बनाउँला नसके भएकाले काम चलाउँला”, उनी भन्छन्, “कम्तीमा तरकारी रोपेर खाने जमिन मात्रै भए पनि बिहान बेलुका खान पुग्थ्यो ।” गाउँपालिकाका अध्यक्ष राजु थापाले नमूना बस्तीमा रहेको खानेपानी समस्या समाधानका लागि गाउँपालिकाले योजना बनाएको उल्लेख गर्दै समस्या केही समयमै समाधान हुने बताए। उनले बस्तीसम्म सडक पु¥याउने प्रयास थालेको बताए। देशविदेशमा रहेका बिहुँ र बागलुङबासी तथा गाउँपालिकाको सहयोगमा जग्गा खरिद गरेर राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको सहयोगमा घर निर्माणपछि नमूना बस्ती तयार भएको थियो । बस्ती तयार भए पनि आवश्यक संरचना भने अझै तयार भइसकेका छैनन् । स्थानीयले घरको लालपुर्जा आफूसँग नभएको पीडा सुनाए ।
ठमेलमा पर्यटक छन्, व्यापार छैन काठमाडौं । काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा पछिल्लो समय विदेशी पर्यटकको सङ्ख्या उल्लेख्य मात्रामा बढे पनि त्यहाँको व्यापार भने बढ्न सकेको छैन । नेपालमा मार्च महिनामा कोरोना महामारीपछिकै सबैभन्दा धेरै पर्यटक भित्रिए पनि ठमेलमा भने उल्लेख्य मात्रामा व्यापार हुन नसकेको व्यवसायीले बताएका छन् । नेपाल आउने पर्यटकमध्ये ८० प्रतिशतभन्दा बढी ठमेल आउने गरेका पाइएको छ । ठमेलस्थित सातघुम्तीमा विगत २२ वर्षदेखि ट्रेकिङ जान प्रयोग गरिने सामान बिक्री गर्दै आएका पून्यराम लागेजु ठमेल क्षेत्रमा पर्यटक बढे पनि व्यापार बढ्न नसकेको बताउँछन्। “कोरोना महामारी अगाडिको तुलनामाअहिले २० प्रतिशत मात्र व्यापार भएको छ”, उनी भन्छन्। कोरोना महामारी अघि लागेजुले दैनिक रु ५० हजारदेखि रु ६० हजारको व्यापार गर्थे। अहिले दैनिक रु आठ हजारदेखि रु दश हजारसम्मको व्यापार हुने गरेको उनी बताउँछन् । बाइस वषर्को आफ्नो व्यापारको अनुभव सुनाउँदै लागेजुले भने– “अहिले सबैभन्दा थोरै व्यापार भएको छ ।” यस्तै, ठमेलमै लामो समयदेखि कपडा व्यापार गर्दै आएका सीताराम रेग्मी पहिलेको तुलनामा अहिले व्यापार/व्यवसाय घटेको बताउँछन्। “ठमेलका गल्लीमा प्रशस्त मात्रामा पर्यटक देखिए पनि व्यापार न्यून भएको उनी बताउँछन् । “कहिलेकाँही त बिक्री नै हुँदैन”, रेग्मी भन्छन्। खर्च धेरै गर्ने पर्यटक नआएका कारण व्यापार घटेको उनको भनाइ छ । रेग्मी सामान किन्ने र खर्च गर्ने पर्यटक नआएका कारण व्यापार व्यवसाय धरापमा परेको सुनाउँछन्। ठमेलमा विगत १४ वर्षदेखि ह्याण्डिक्राप्टको व्यापार/व्यवसाय गर्दै आएकी नेपाल ह्याण्डिक्राप्ट कलेक्सनकी सञ्चालक मीनाकुमारी बाँस्तोला पछिल्लो समय व्यापार एकदमै घटेको बताउँछिन्। “पहिलाजस्तो व्यापार छैन, पहिला पर्यटक पसलमा आउने सामान हेर्ने गर्दथे, मन परे किनेर लैजाने गर्दथे, अहिले पसलभित्र पर्यटक छिर्न मान्दैनन्”, बाँस्तोला भन्छिन्। उनले उलन, पश्मिना, फेल्टलगायतका सामान बिक्री वितरण गर्दै आएकी छन्। ठमेलमा व्यापार व्यवसाय नहुँदा घरबेटीलाई भाडा तिर्नसमेत समस्या पर्दै गएको व्यवसायी बताउँछन् । ठमेल क्षेत्रका व्यापारीले व्यवसाय नभएको गुनासो गरिरहँदा ठमेलका होटलमा भने पर्यटकको सङ्ख्या बढेको होटल व्यवसायी बताउँछन् । ठमेलमा काठमाडौँ इको होटल सञ्चालन गर्दै आएका विमल(सहदेव) धमला पछिल्लो समय ठमेलमा पर्यटकको सङ्ख्या बढेको बताउँछन्।“मैले सञ्चालन गरेको होटलमा अहिले दैनिक ७० देखि ८० कोठा भरिएका छन्, यो तुलनात्मक रुपमा राम्रो हो”, उनी भन्छन्। ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्षसमेत रहेका धमला पर्यटक छोटो समयका लागि बस्न आउँदा ठमेल क्षेत्रको व्यापार व्यवसाय भने घटेको बताउँछन्। ठमेलमा एक/दुई रात आएर बस्ने पर्यटकका भरमा व्यापार व्यवसाय केन्द्रीत रहेको उनले सुनाए। ठमेलमा सञ्चालित चारतारे होटल ‘रमदा’का महाप्रबन्धक महेश फुयाँल आफ्नो होटलका कोठा अहिले दैनिक ९० प्रतिशतसम्म भरिन थालेको बताउँछन्। अहिले पर्यटकीय समय भएको कारण पनि होटलमा पर्यटकको सङ्ख्या बढेको उनी बताउँछन्। नेपालमा पर्यटक आवागमनको सङ्ख्या बढेसँगै हवाई क्षेत्रमा पनि उत्साह थपिएको छ । पछिल्लो समय हवाई मार्ग हुँदै सगरमाथा आधारक्षेत्र सोलुखुम्बु, मुस्ताङ, डोल्पा, हुम्लालगायत क्षेत्रमा जाने पर्यटक बढेका छन् । यती एयरलाइन्सको भगिनी संस्था तारा एयरमार्फत घुम्न जाने पर्यटकको सङ्ख्या बढेको यती एयरलाइन्सका प्रवक्ता एवं हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौला बताउँछन्। “तारा एयरलाइन्स र यती एयरलाइन्सको माउण्टेन फ्लाइटमार्फत घुम्न जाने पर्यटकको सङ्ख्या बढेको छ”, उनी भन्छन्। पछिल्लो समय तारा एयरलाइन्सले विभिन्न गन्तव्यस्थलमा दैनिक ५० वटासम्म उडान भर्ने गरेको छ । सो एयरलाइन्सले रामेछापको मन्थली विमानस्थलबाट सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल लुक्लासम्म दैनिक आउने जाने ३२ उडानसम्म गरेको छ । यस्तै, सोही एयरलाइन्सले पोखराबाट मुस्ताङसम्म १० उडान र नेपालगञ्जबाट हिमाली क्षेत्रमा छ उडान गर्ने गरेको छ । अङ्ग्रेजी वर्षको मार्च, अप्रिल, मे महिनालाई नेपालमा पर्यटकीय यामका रुपमा लिने गरिन्छ । नेपाल पर्यटन बोर्डका अनुसार मार्च महिनामा मात्र नेपालमा ९९ हजार चार सय २६ पर्यटक भित्रिएका छन् । मार्च महिनामा सार्क राष्ट्रबाट ३३ हजार चार सय ५४, अन्य एशियाली मुलुकबाट १५ हजार छ सय ४३, युरोपबाट २३ हजार दुई सय ६५ तथा अन्य राष्ट्रबाट तीन हजार नौ सय ५८ पर्यटक नेपाल आएका छन् । यस्तै, क्यानडाबाट एक हजार सात सय सात, अमेरिकाबाट नौ हजार पाँच सय ५७ का साथै मध्यपूर्वलगायतका देशबाट १० हजार तीन सय ७५ पर्यटक नेपाल भित्रिएका छन् । मार्च महिनामा आउने पर्यटकमध्ये सबैभन्दा धेरै भारतबाट आएको पर्यटन बोर्डका निर्देशक एवं सूचना अधिकारी मणिराज लामिछाने बताउँछन् । उनका अनुसार मार्च महिनामा मात्र भारतबाट २५ हजार नौ सय ११ पर्यटक नेपाल आएका छन् । गत वर्षको मार्च महिनामा भारतबाट १५ हजार १३ पर्यटक आएका थिए । अमेरिकाबाट गत वर्षको सोही अवधिमा चार हजार आठ सय ९६ पर्यटक आएकामा यसपटक नौ हजार पाँच सय ५७ पर्यटक आएका छन् । मार्चमा भारत, अमेरिका, बेलायत, जर्मनी र श्रीलङ्काबाट सबैभन्दा धेरै पर्यटक नेपाल आएका छन् ।
सहिद स्मारक लिग आज दुई खेल हुँदै काठमाडौं। सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज दुई खेल हुँदै छन्। अपरान्ह २ बजे एन्फा कम्प्लेक्समा जावलाखेल युथ क्लब र खुमलटार युथ क्लब बीच प्रतिस्पर्धा हुनेछ। ६ खेलबाट १३ अंक जोडेको जावलाखेल लिगको शीर्ष स्थानमा छ भने खुमलटार ६ खेलबाट ६ अंक जोडेर ११ औँ स्थानमा छ। यसैगरी सोही समयमा च्यासल मैदानमा मनाङ मर्स्याङ्दी क्लब र फ्रेन्ड्स क्लब भिडने छन्। मनाङ मर्स्याङ्दी ५ खेलबाट ११ अंक जोडेर चौथो स्थानमा छ भने ५ खेलवाट ४ अंकका साथ फ्रेन्ड्स भने १२औँ स्थानमा रहेको छ।
सेनाले माग्य विभिन्न क्षेत्रका कर्मचारी काठमाडौं। नेपाली सेनाले विभिन्न पदमा कर्मचारीका लागि विज्ञापन आह्वान गरेको छ। सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले उपसेनानी, एमबिबिएस डाक्टर, फार्मेसिष्ट, फिल्म निर्देशक, सिभिल इन्जिनियर, एयर ट्राफिक कन्ट्रोलरलगायत विभिन्न ३० पदका लागि दरखास्त आह्वान गरेको हो। सेनाले प्राड/प्राविधिक/हवाई/विविध सेवातर्फका अधिकृत पदका लागि इच्छुकहरूबाट दरखास्त मागेको हो। सेनाले खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्न १३७ जना माग गर्दै आज गोरखापत्रमा सूचना निकालेको छ। १८ वर्ष पूरा भई २९ वर्ष ननाघेको पुरूष र १८ वर्ष पूरा भई ३० वर्ष ननाघेको महिलाले फारम भर्न सक्नेछन्। उचाई भने पुरूषको ५ फिट ३ इन्च र महिलाको न्यूनतम ५ फिट हुनुपर्ने सूचनामा उल्लेख छ। सेनाको वेबसाइटमा गएर दरखास्त फारम भर्न सकिन्छ। भरेको फारम प्रिन्ट गरेर स्वयम नेपाली सेनाको केन्द्रीय भर्ना छनौट केन्द्र स्वयम्भूमा बुझाउनुपर्ने छ। १० को टिकट टाँसेर दरखास्त दिनसमेत सेनाले आग्रह गरेको छ। दरखास्त शुल्क भने एक हजार रुपैयाँ तोकिएको छ। आजदेखि २०८० वैशाख २३ गतेसम्म तोकिएको भर्ना केन्द्रमा पुगेर दरखास्त फारम बुझाउन सकिने छ।
आजको मौसमः मधेस र कोशी प्रदेशमा मेघ गर्जनसहित पानी पर्ने संभावना काठमाडौं। हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो मधेश प्रदेश, कोशी प्रदेश लगायत देशको पहाडी भू-भाग आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ। राति भने कोशी प्रदेशका साथै देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। कर्णाली प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशको पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन र चट्याङबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
कांग्रेस नेता डा भण्डारीको स्वास्थ्यमा सुधार काठमाडौं। नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारीको स्वास्थ्यमा राम्रो सुधार हुँदै गएको छ । गत फागुन ३ गते राति आफ्नै निवास बुद्धनगरमा ‘ग्यास लिक’ भएर आगालागीबाट गम्भीर घाइते भएका डा भण्डारीको स्वास्थ्य पछिल्लो समय राम्रो हुँदै गएको हो । गत फागुन ४ गतेदेखि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत डा भण्डारीको स्वास्थ्यमा राम्रो सुधार आएको उनी निकट कांग्रेसका नेता माधव न्यौपानेले जानकारी दिए। “डा भण्डारीको अनुहारको छाला राम्रो भइरहेको छ, बायाँ हातको पट्टी खोलिएको छ, कलमी छालाले राम्रो काम गरिरहेको छ”, न्यौपानेले भने । पछिल्लो समय डा भण्डारीलाई ज्वरो समेत नआएको र दिनदिनै फिजियोथेरापी गरिएको न्यौपानेले बताए । डा भण्डारीलाई दैनिक तीनरचार पटक हिँडाउने गरिएको छ । आगलागीमा परी सांसद डा भण्डारी र उनकी आमा हरिकला भण्डारी गम्भीर घाइते भएका थिए । आमा हरिकलाको भने उपचारका क्रममा कीर्तिपुर अस्पतालमा फागुन ४ गते निधन भएको थियो ।
नेपाललाई पर्यटकीय अन्तर्राष्ट्रिय गन्तव्यस्थल बनाइने काठमाडौं। सरकारले नेपाललाई पर्यटकीय अन्तर्राष्ट्रिय गन्तव्यस्थलको रूपमा विकास गर्ने लक्ष्य लिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज सार्वजनिक गरिएको संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रममा उक्त लक्ष्य प्राप्तिका लागि आवश्यक पूर्वाधार विकास गर्ने योजना ल्याइएको हो । पर्यटन क्षेत्रको पूर्वाधार विकासका लागि आवश्यक योजना बनाउने साझा न्यूनतम कार्यक्रममा समेटिएको छ । विमानस्थल, हवाई उड्डयन, हिमाली लोकमार्ग जस्ता पूर्वाधारको विकास गर्नुका साथै पर्यटकीय क्षेत्रका होटल, ट्राभल एजेन्सी, टे«किङ एजेन्सीलगायतका सेवा प्रदायकहरूको विकास तथा गुणस्तर व्यवस्थित गर्ने सरकारको प्राथमिकता रहेको छ । सांस्कृतिक, जैविक एवं भौगोलिक विविधतालाई पर्यटनको मुख्य क्षेत्रको रूपमा विकास गर्ने, राष्ट्रिय निकुञ्ज र आरक्ष क्षेत्रको उचित व्यवस्थापन गर्ने उल्लेख गरेको सरकारले निजगढ विमानस्थललगायत पर्यटन क्षेत्रको पूर्वाधार विकासका लागि आवश्यक योजना बनाउने भएको छ । बाराको निजगढमा प्रस्तावित राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको निजगढ अन्तर्राष्ट्रिय निर्माणको प्रक्रिया अघि बढे पनि वातावरणीय विषयमा टुङ्गो लाग्न नसक्दा उक्त आयोजनाको कामले गति लिन सकेको छैन । सरकारले यो आयोजनालाई शीघ्ररूपमा अघि बढाउने गरी आवश्यक प्रक्रिया थालेको छ । हालसम्म विमानस्थलको चारकिल्ला तोक्ने र तारबार लगाउने काम भएको छ । हरित पर्यटनको विकास गर्न विशेष कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिएको सरकारले खेलकुदलाई उद्योगको रूपमा विकास गर्ने र अन्तर्राष्ट्रियस्तरको खेलकुद पूर्वाधार निर्माण तथा खेदकुद पर्यटनको विकास गर्ने योजना बनाएको छ ।
निजी विद्यालयका अभिभावकलाई चर्को आर्थिक भार पर्न नदिने सरकारको प्राथमिकता काठमाडौं। सरकारले मानव विकास सूचकाङ्क तथा जनसङ्ख्या र भूगोलका आधारमा सबै प्रदेशको सन्तुलित विकासमा जोड दिने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज सत्तारुढ गठबन्धनको साझा नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गरिबीको रेखामुनि रहेका जनतालाई अत्यावश्यक वस्तु सुपथ मूल्यमा वितरण गर्न गरिब घरपरिवार परिचयपत्रको व्यवस्था तथा सबैका लागि सार्वजनिक वितरण प्रणालीको व्यवस्था गर्ने बताइन्। उनले भनिन्, “गुणस्तरीय, रोजगारमूलक, व्यावसायिक र प्राविधिक शिक्षामा जोड दिँदै सङ्घीयताको मान्यताअनुरूप शिक्षा प्रणालीलाई पुनर्संरचना गर्ने, पाठ्यक्रमलाई परिमार्जन गर्ने र शिक्षालाई जनताको पहुँचभित्र राख्न सामुदायिक शिक्षा प्रभावकारी बनाउने, निजी विद्यालयमा अभिभावकलाई चर्को आर्थिक भार पर्न नदिने सरकारको प्राथमिकता छ ।” संविधानबमोजिम मातृभाषामा शिक्षाका लागि आवश्यक बजेट व्यवस्था गर्ने र विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्न आवश्यक व्यवस्थासहितको विश्वविद्यालय छाता ऐन जारी गर्ने न्यूनतम कार्यक्रमका उल्लेख छ । प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने र स्वास्थ्यमा जनताको सरल र सहज पहुँच स्थापित गर्न स्वास्थ्य केन्द्र तथा आधारभूत अस्पताललाई विस्तार गरी स्वास्थ्य सेवालाई जनताको घरदैलोमा पुर्‍याउने सरकारको जोड छ । सबै प्रदेशमा विशिष्टिकृत अस्पताल स्थापना गर्ने, स्वास्थ्य बिमाको व्यवस्थालाई प्रभावकारी बनाउने र उच्च रक्तचाप, मधुमेह, क्यान्सर, दम, मिर्गौला, कलेजो र महिलाको पाठेघरसम्बन्धी रोगको उपचारका लागि सरकारले दिइराखेको सहयोगको दायरा विस्तार गर्ने सरकारको प्राथमिकता छ । त्यसैगरी सरकारले मजदुर, किसान, बौद्धिक पेशाकर्मीलगायतका श्रमजीवी वर्गको श्रमको सम्मानका साथै रोजगारीका लागि ठोस नीति बनाउने र शैक्षिक बेरोजगारलाई प्रमाणपत्र धितो राखी दिइने ऋण सहजरूपमा उपलब्ध गराउने, बेरोजगारलक्षित कार्यक्रम ल्याउने भनेको छ । सहकारी क्षेत्रलाई गरिबी उन्मूलन र रोजगार प्रवद्र्धनका क्षेत्रका रूपमा राज्यले प्राथमिकता दिने तथा गरिबीको रेखामुनि रहेका जनतालाई खाद्य, शिक्षा, स्वास्थ्य, आवास, सीप विकास र रोजगारीको कार्यक्रम ल्याउने सरकारको प्राथमिकतामा छ । सरकारका प्रवक्ता शर्माले देश विकास प्रक्रियालाई आधुनिक प्रविधिसँग आबद्ध गर्ने र मानव जीवन सहज तथा उत्पादनमुखी बनाउन विद्यालयदेखि विश्वविद्यालयसम्म विज्ञान र प्रविधिको अध्ययन, अनुसन्धान र शिक्षालाई उच्च प्राथमिकता दिने बताइन्। ज्येष्ठ नागरिक, असहाय, अशक्त, अपाङ्गता भएका व्यक्ति, एकल महिला तथा विपन्न व्यक्तिका साथै दलित, उत्पीडित तथा पिछडिएको वर्ग, अल्पसङ्ख्यक, सीमान्तकृत तथा लोपोन्मुख समुदायलाई दिइएको सामाजिक सुरक्षा भत्ताको दायरालाई विस्तार गर्ने र अपाङ्गता भएकालाई रोजगारका लागि विशेष तालिम एवं अवसर दिने विषयमा सरकारले जोड दिएको छ ।
‘निर्माण सम्पन्न भएको पाँच वर्षसम्म आयोजना बिग्रिए ठेकेदार जिम्मेवार’ काठमाडौं। भौतिक पूर्वाधारको दीगो र गुणस्तरीय विकासका लागि भन्दै सरकारले पूर्वाधार आयोजना निर्माण सम्पन्न भएको पाँच वर्षसम्म बिग्रे भत्केमा सम्बन्धित ठेकेदारलाई जिम्मेवार बनाउने नीति लिने भएको छ। आज सार्वजनिक संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रममा पाँच वर्षसम्म बिग्रे भत्केको मर्मत सम्भार निर्माण कम्पनीले नै गर्नुपर्ने व्यवस्था गर्ने उल्लेख छ। पूर्वाधारसँग सम्बन्धित कामलाई एकीकृत विकास नीति बनाएर अघि बढ्ने पनि न्यूनतम साझा कार्यक्रममा उल्लेख छ। “यातायात क्षेत्रको एकीकृत विकासका लागि स्थल, हवाई, रेल, पानीजहाज र केबुल कार सेवाको एकीकृत योजना निर्माण गरी सार्वजनिक यातायात सेवालाई सुदृढ र व्यवस्थित गरिनेछ”, न्यूनतम साझा कार्यक्रममा भनिएको छ। पूर्वपश्चिम लोकमार्ग चार लेन र काठमाडौँ उपत्यकाको चक्रपथ आठ लेनमा विस्तार गर्ने कामलाई प्राथमिकतामा राखिने जनाइएको छ। मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्गलगायत पूर्वपश्चिम लोकमार्ग र उत्तर दक्षिणका कोरिडर तथा व्यापारिक मार्ग प्राथमिकताका साथ निर्माण गर्ने न्यूनतम साझा कार्यक्रममा उल्लेख छ। विप्रेषणमा निर्भर अर्थतन्त्रलाई उत्पादनशील अर्थतन्त्रमा रूपान्तरण गरिने जनाइएको छ। “औद्योगीकरणलाई उच्च प्राथमिकता दिने, आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनमूलक उद्योगको विकासमा जोड दिने, पूँजी, श्रम र उद्यमशीलताको संयोजन गरी देशलाई औद्योगीकरण गर्ने, उत्पादनका लाभको समन्यायिक वितरण गर्नेलगायतका नीति सरकारले लिनेछ”, न्यूनतम साझा कार्यक्रममा भनिएको छ।
सप्तरीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु सप्तरी । बोदेवरसाइन नगरपालिका २ बेलहानजिक विसनपुर स्वर्णपट्टी सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मोटरसाइकल दुर्घटनामा परेर बोदेवरसाइन नगरपालिका– ५ भाटीनका १७ वर्षीय सागर पण्डितको मृत्यु भएको हो । विसनपुरबाट बोदेवरसाइनतर्फ आउँदै गरेको बा १७ प ९४७५ नम्बरको मोटरसाइकल बोदेवरसाइन-२ वैरियामा अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार सागर पण्डित र १५ वर्षीय सुमित पण्डित घाइते भएका थिए । उनीहरुलाई तत्काल वरसाइन स्थित जीवनज्योति अस्पतालमा उपचारका लागि लगिएको थियो । उपचारकै क्रममा मोटरसाईकल चालक सागरको मृत्यु भएको र मोटरसाइकल पछाडि सवार १५ वर्षीय सुमित पण्डितको उपचार भइरहेको जिल्ला प्रहरी प्रवक्ता नरेश कुमार सिंहले जानकारी दिएका छन ।
मस्जिदको विषयमा कुटाकुट, दुई जना गम्भीर सुधा देव सप्तरी । सप्तरीमा मस्जिदको विषयलाई लिएर कुटाकुट हुँदा दुईजना गम्भीर घाइते भएका छन् । सप्तरीको शम्भुनाथ नगरपालिका वडा न. १२ सोनमा बस्ने ५३ वर्षीय शोभराति मिया र ७० वर्षीय ईस्लाम मियाबीच मस्जिदको विषयलाई लिएर कुटाकुट हुँदा दुईजना घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । ईस्लाम मियाको शरिरको विभिन्न भागमा चोट लागेको र स्थानीय मो फरसुदको छोरा ११ वर्षीय मो अजादको निधारमा चोट लागेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपि एव प्रवक्ता नरेशकुमार सिंहले जानकारी दिएका छन् । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
गृहमन्त्रीसँग मात्रै वार्ता गर्ने मिटरब्याजी पीडितहरुको अडान {भिडियो} काठमाडौं। चक्रवृति तथा मिटर व्याजीलाई कारवाही गर्नुपर्ने माग सहित काठमाडौं आएका मिटरब्याजी पीडितहरुले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसंग मात्रै वार्ता गर्ने अडान राखेका छन्। बिहीबार गृहमन्त्रालका प्रवक्ता जितेन्द्र बस्नेत नेतृत्वको टोली मिटरब्याजी पीडितसँग वार्ता गर्न काठमाडौंको शान्तिवाटीका पुगेपनि उनीहरुले भने गृहमन्त्रीसँगै वार्ता गर्ने अडान राखेका हुन्। यसअघिको मिटरव्याजी पीडितसंग सरकारले गरेको सहमति र मिटर व्याजीलाई कारवाही गर्ने बिषयमा सरकारले गरिरहेको तयारीका बारेमा गृहका प्रवक्ता बस्नेत, काठमाडौंका प्रमुख जिल्ला अधिकारी, गृहमन्त्रीका सचिवालय सदस्य लगाएत शान्तिबाटीका पुगेका थिए। सुरुमा उनीहरुले मिटरब्याजी पीडितहरुको समस्या सुनेका थिए र सो क्रममा पीडितहरुले जाली तमसुक बनाएर आफुहरुलाई पीडा दिएको गुनासो गरे। आफुले वकिल राखेपनि वकिल नै मिटरब्याजीहरुसँगमिल्ने गरेको उनीहरुले बताए। पीडितहरुको गुनासो सुनेपछि गृह मन्त्रालयका प्रवक्ता बस्नेतले मिटरब्याजी पीडितहरुको समस्या सुन्न प्रधानमन्त्री र गृहमन्त्रीले पठाएको र आफुहरु माग पुरा गर्न सकारात्मक रहेको जानकारी गराएका थिए। उनले यसअघिको पीडितसँग भएको सहमति अनुसार मिटरब्याज सम्बन्धी उजुरीलाई प्राथमिकता दिनका लागि निर्देशन दिएको, समस्या समाधानका लागि सरकारले आयोग गठन गरेको बताएका थिए । उनले सरकारले सबै समस्या समाधान गर्ने भन्दै घर फर्कन आग्रह गरेका थिए। तर पीडितहरुले आयोगले कहिले काम गर्ने भन्ने थाहा नभएको भन्दै मिटरब्याजका लागि भएको तमसुक खारेज हुनुपर्ने बताएका थिए। मिटरब्याजलाई अपराध नै घोषणा गरे पनि यसलाई रोक्न राज्यले कुनै पहल नगरेको उनीहरुले बताएका थिए। उनीहरुले यसअघिको सहमति देखाएर राज्य पन्छिन नमिल्ने भन्दै सिघै गृहमन्त्रीसंग छलफल गर्ने अडान राखेका थिए। उनीहरुले पारदर्शी ढंगले शान्तिबाटीकामा नै वार्ता गर्ने भन्दै छिटो निकास निकाल्न आग्रह गरेका छन्। तमसुक तथा पीडितको जमिन फिर्ता गर्नुपर्ने, भूमि लिलामी बन्द गर्नुपर्ने लगाएतका माग राख्दै मिटरव्याजी पीडितहरुको अर्को समूह काठमाडौं आएको हो। हेर्नुहोस् भिडियो:
अवैध लागुऔषधसहित ८ जना पक्राउ काठमाडौँ। अवैध लागुऔषध सहित ४ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा साँगुरीगढी गाउँपालिका–३ बस्ने २३ वर्षीय सरोज याख्खा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो। प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरीले साँगुरीगढी गाउँपालिका–१ लाबरबोटेबाट अवैध लागूऔषध गाँजा करिब ६ किलोग्राम फेला पारी उनिहरुलाई पक्राउ गरेको हो। यसैगरि, बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहाबाट अवैध लागूऔषध ब्राउनसुगर सहित ४ जना पक्राउ परेका छन्। करिब ४ ग्राम ब्राउनसुगर सहित बाँके कोहलपुर नगरपालिका–२ बस्ने २४ वर्षीय दिपक विक समेत ३ जनालाई प्रहरीले पक्राउ गरेको हो। प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित फेला गरी पक्राउ गरेको हो।
बच्चा जन्मदर्ता मावलीका थरबाट गर्न सकिने काठमाडौँ। एकल महिलाबाट जन्मेको र पितृत्वको ठेगाना नभएको बच्चाको जन्मदर्ता मावलीको थरबाट हुने भएको छ। राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले एक सूचना जारी गरी उक्त व्यवस्था गरिएको जनाएको हो। त्यस्ता बालबालिकाको जन्मदर्ताका विषयमा थप प्रष्ट पारिदिन स्थानीय तहबाट अनुरोध भइ आएकाले दोहोरो दर्ता नहुने गरी उक्त व्यवस्था गरिएको विभागका महानिर्देशक रुद्र पण्डितले जानकारी दिए। “विवाह अघि जन्म भएको तर पितृत्व ठेगान नभएको बच्चा भएको एकल महिलाको विवाह गरी बच्चासहित पतिको ठेगानासँगै बसेको भए उक्त बच्चाको मावलीकै थर राखी आमाको हालको स्थायी ठेगानामा जन्मदर्ता गर्न सकिनेछ”, विभागले भनेको छ। विभागले विवाह अघि जन्म भएको तर पितृत्वको ठेगान नभएको बच्चा भएको एकल महिलाले विवाह गरी पतिसँगै बसेको तर उक्त बच्चाको मावलीमै बसेको भए मावलीकै थर कायम गरी मावलीकै ठेगानामा आमालाई सूचक राखी जन्मदर्ता गर्न सकिने जनाएको छ। माथिका दुई व्यवस्था अनुसार बच्चाको जन्मदर्ता भइसकेपछि बाबुको ठेगान पत्ता लागेको अवस्थामा सो जन्मदर्ता नियमानुसार रद्द गरी बाबुको ठेगानाबाट नयाँ जन्मदर्ता गर्नुपर्ने विभागले जनाएको छ। माथिको अवस्थाबाहेक अन्य अवस्थामा राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण ऐन २०७६, राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण नियमावली (संसोधनसहित) २०७७ र विभागको यसअघिको परिपत्रअनुसार गर्नुपर्ने भनिएको छ।
भक्तपुर औद्योगिक तथा पर्यटन महोत्सव आजदेखि काठमाडौँ। नयाँ वर्ष २०८० तथा बिस्केट जात्राको अवसरमा भक्तपुरमा आजदेखि ‘सातौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव’ सुरु भएको छ। औद्योगिक शान्ति नेपाल संस्था, मध्यपुर ब्वाइज व्याण्डकोे आयोजना एवं भक्तपुर जिल्ला खेलकुद विकास समितिको सहयोगमा सल्लाघारीस्थित नेपाल ट्रष्टको जग्गामा महोत्सव आयोजना गरिएको हो। भक्तपुर आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी महोत्वस आयोजना गरिएको औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दिप महतले जानकारी दिए। महोत्सवमा खाद्यान्न, लत्ताकपडा, कृषि तथा हस्तकलाका सामग्री, भाँडाकुँडा, मोबाइल, सवारी साधनलगायतका कक्ष रहेका छन्। सामानमा २० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ। अध्यक्ष महतका अनुसार महोत्सवमा करिब पाँच लाख उपभोक्ताले अवलोकन गर्ने तथा रु १० करोडदेखि रु १२ करोडसम्मको कारोबार हुने अपेक्षा गरिएको छ। महोत्सवका संयोजक एवं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक थापाका अनुसार महोत्सवमा दुई सय कक्ष रहेका छन्। “घरायसी सम्पूर्ण सामान एकै ठाउँबाट सस्तो र सुलभरुपमा उपलब्ध गराउने उद्देश्यले महोत्सव आयोजना गरेका हौँ”, उनले भने। एघार दिनसम्म चल्ने महोत्सवमा विभिन्न कलाकारको साङ्गीतिक प्रस्तुति रहने बताइएको छ।
मोरङमा एसइई दिइरहेका एक सय १६ नक्कली परीक्षार्थी पक्राउ विराटनगर। मोरङमा माध्यमिक शिक्षा परीक्षा (एसइई) दिइरहेका एक सय १६ नक्कली परीक्षार्थी पक्राउ परेका छन्। अरुको नाममा परीक्षा दिइरहेका उनीहरुलाई आज अनुगमन टोलीले विभिन्न परीक्षा केन्द्रबाट पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेलका अनुसार अनुगमन टोलीले केराबारी, ग्रामथान र हरैँचाका परीक्षा केन्द्रबाट उनीहरुलाई पक्राउ गरिएको हो। पक्राउ परेका परीक्षार्थीका विषयमा छानबिन भइरहेको उनले जानकारी दिए। उनका अनुसार सबैभन्दा बढी सरस्वती मावि ग्रामथानबाट ५२ जना, सार्वजनिक मावि केराबारीबाट ४४ जना र जनता मावि सुन्दरहरैँचाबाट २० जना पक्राउ परेका छन्। नक्कली परीक्षार्थीका विषयमा आवश्यक छानबिन गरी कानुनी प्रक्रिया अगाडि बढाइने उपरीक्षक पोखरेलले जानकारी दिए।
जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ सुर्खेत। वीरेन्द्रनगरबाट जुवातास खेलिरहेको अवस्थामा ८ जलाई पक्राउ गरेको छ। वीरेन्द्रनगर नगरपालिका-९ बस्ने ४२ वर्षीय दावा गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा गुरूङ समेत ८ जनालाई प्रहरीले पक्राउ गरेको हो। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४० हजार ७५ रूपैयाँ र मोबाइल ७ थानसहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
एउटै परीक्षा केन्द्रबाट ५२ जना परीक्षार्थी पक्राउ विराटनगर। मोरङको ग्रामथान गाउँपालिका–२ मा रहेको सरस्वती माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट ५२ जना परीक्षार्थी पक्राउ परेका छन्। माध्यमिक शिक्षा परीक्षा (एसईई) दिइरहेका ५२ जना परीक्षार्थीलाई पक्राउ गरेर अनुसन्धान थालिएको मोरङ प्रहरीले जनाएको छ। बुधबार एकजजना पक्राउ परेपछि निगरानी बढाउने क्रममा बिहीबार सामाजिक विषयमा परीक्षामा सहभागी भएका ५२ जनालाई नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ। एउटाको नाममा अर्कैले परीक्षा दिएको आशंका उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।
माल्टामा नेपाल डे मनाइने माल्टा। नेपाल माल्टा च्यारिटी अर्गनाईजेसनले नेपाली नयाँ बर्षमा नेपालमा पर्यटन प्रवर्धन गर्ने ऊद्देश्यले नेपाल डे मनाइने भएको छ । माल्टामा अबस्थित बिभिन्न सामाजिक संघ सँस्थाका प्रतिनिधि,नेपाल माल्टा च्यारिटी अर्गनाईजेसनका कार्यसमितिका पदाधिकारीहरुकाे बैठकले नेपाल डे कार्यक्रम मनाउने निर्णय गरेका हुन्। नेपाल माल्टा च्यारिटी अर्गनाईजेसनका संयोजक प्रकाश भण्डारीले नेपाल चिनाऊन र नेपालमा पर्यटक भित्र्याउने ऊद्देश्यका साथ उक्त कार्यक्रमको आयोजना गरिन लागिएकाे बताए। नेपाल बहु जाति, बहु धार्मिक,बहु सास्कृतिक अनि बिबिध भाषा , भेष भुषा र प्राकृतिक सम्पदाले भरिपूर्ण देश भएकाले देश विकाशको प्रमुख आधार पर्यटन नै भएको दाबी गर्दै उनले समस्त माल्टा बासि नेपालीहरुलाई देशलाइ बिश्व सामु चिनाउन र देश विकासको लागी एउटा इट्टा थप्न, पर्यटन ब्यबसायलाइ फस्टाउन नेपाल डेलाई सफल र भब्य बनाउन आग्रह पनि गरे। रोजगारीको शिलशिलामा कर्मभुमि माल्टामा रहदै गर्दा पनि आफ्नो मातृभूमिलाइ चिनाउनको लागि नेपालि नया बर्ष २०८० सालको अबसर पारेर अप्रिल १६ तारिकका दिन माल्टाको राजधानी भ्यालेटामा नेपाल माल्टा च्यारिटी अर्गनाईजेसनले सांस्कृतिक कार्यक्रमका साथ नेपाल डे आयोजना गरिनेछ। उक्त कार्यक्रमलाइ नेपाली राजदुतावास लन्डन/स्पेन र प्रचार प्रसार सामग्री उपलब्ध गराइ सहयोग गर्ने नेपाल पर्यटन बोर्ड एबं कोस्टा क्लिन फाउन्डेसन माल्टाले सहयाेग गरेका छन्।
आजको मौसम: देशका पहाडी भू-भागमाा मेघगर्जनसहित पानी पर्ने संभावना काठमाडौं। हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ। राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन र चट्याङबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
कञ्चनपुरमा लागूऔषधसहित दु्ई जना पक्राउ कञ्चनपुर । कञ्चनपुरमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय झलारी र रैकवारबाट खटीएको प्रहरी गस्ती टोलीले कृष्णपुर नगपालिका ७ कलुवापुरका गणेश पाण्डेय र कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ७ लालपुरका ४० वर्षीय तिर्थ फुलारालाई पक्राउ गरिएको कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले बताएका छन् । पाण्डेयले चलाएको सु।प।प्र।०१–०११ प.२२४६ नम्बरको मोटरसाइकल र सोही मोटर साईकलमा पछाडी सवार फुलारालाई शंकालागी चेक जाँज गर्दा उनीहरूको साथबाट १.१५ ग्राम लागुऔषध खैरो हिरोईन बरामद नियन्त्रणमा लिएको डाँगीले बताए । उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाइएको छ ।