content
stringlengths
20
64.1k
रासस काठमाडौंको सिनामंगलमा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ।, काठमाडौं महानगरपालिका–९ सिनामंगल कार्गो गेट अगाडि बा ५ ख ५६२२ नं को बसको ठक्करबाट काभ्रे घर भई सिनामङ्गल बस्ने ४२ वर्षीय रामकृष्ण रञ्जितकारको आज बिहान मृत्यु भएको हो।, बसको ठक्करबाट गम्भीर घाइते रञ्जितकारको उपचारका क्रममा काठमाडौं मेडिकल कलेज सिनामंगलमा निधन भएको काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।, दुर्घटनामा संलग्न बस चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रवक्ता भट्टले बताए।, सिनामंगलमा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु
सुदीप श्रेष्ठ मंगलबार राति सवा ७ बजे बिक्रम बुढाथोकीको फोन आयो।, ‘तपाईंले खोज्नुभएको दिदी भेटिनुभयो नि?’, ‘ल गज्जब भयो, तपाईंले उहाँको मोबाइल नम्बर माग्नुभयो त?’, ‘छैन सर,’ उनले जवाफ दिए, ‘अहिले दिदी मैसँग हुनुहुन्छ।’, ‘ओहो! खोइ दिनू त दिदीलाई।’, ‘ल कुरा गर्नुस् है,’ बिक्रमले यति भनेपछि चार सेकेन्ड मोबाइलमा क्यारक्यार, कुरकुर आवाज सुनियो, अनि मेरो कानमा पर्‍यो ती दिदीको मसिनो स्वर —, ‘हेलो’, ‘दिदी नमस्ते,’ मैले जवाफको प्रतीक्षै नगरी अगाडि भनेँ, ‘मैले हिजो तपाईंलाई म्हेपी एरियाभरि धुन्धान खोजेको थिएँ। तपाईंलाई चिन्ने कति जनालाई त आफ्नो नम्बरधरि दिएर आएको छु। धन्न बिक्रमजीले सजिलै भेट्नुभएछ। दिदी तपाईंको नम्बर भन्नुस् त, म भोलि फोन गरेर भेट्न आउँछु।’, दिदीले आफ्नो नम्बर भनिन् तर मैले चारवटा अंकभन्दा बढी बुझ्दै बुझिनँ।, तीनचोटि प्रयास गर्दा पनि पूरा नम्बर टिप्न नसकेपछि बिक्रमले भने, ‘छोड्दिनुस् सर, म तपाईंलाई दिदीकै मोबाइलबाट मिस्कल दिन्छु।’, एकैछिनमा मेरो मोबाइलमा नयाँ नम्बर पिलिक–पिलिक गर्‍यो — ९८१८ ......, कसैको मिस्कल देखेर त्यत्ति धेरै खुसी म कहिल्यै भएको थिइनँ!, यो स्टोरी मैले मंगलबार लेखेको ,‘महानगरमा लखेटी–लखेटी ठेला खोसिएकाहरूको कथा’, कै निरन्तरता हो।, काठमाडौं महानगरका प्रहरीले सडक किनार व्यापार गर्ने साना व्यवसायीहरूका ठेला लखेटी लखेटी खोसिरहेका भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि म भिडिओमा देखिएको एउटा ‘क्लू’ का आधारमा ती व्यवसायीलाई भेट्न म्हेपीको मित्रनगर मार्ग पुगेको थिएँ।, त्यहाँ मैले रमा खत्रीलाई भेटेँ, बिक्रम बुढाथोकीलाई भेटेँ, श्यामवती मेहतालाई भेटेँ। यी तीनै जनाको कथा मैले अघिल्लो स्टोरीमा लेखेको छु। तर त्यस दिन एक जना महिलासँग भेट हुन सकेन, जो भिडिओमा सबभन्दा मार्मिक सुनिन्थिन्।, बर्को ओढेकी ती महिला महानगर प्रहरीले ठेला खोसेर लैजाँदा आफ्ना केटाकेटी सम्झेर धरधर्ती रोएकी थिइन्। म उनको आँशुपछाडि लुकेको कथा सुन्न चाहन्थेँ। त्यो ठेलासँग जोडिएको उनको भावना बुझ्न चाहन्थेँ, उनको जिन्दगी बुझ्न चाहन्थेँ। र, यो पनि जान्न चाहन्थेँ, ठेला खोसिएपछि कसरी चल्दैछ उनको जिन्दगी?, यो उनै दिदीको कथा हो।, उनले फोनमा आफ्नो नाम भनेकी थिइन् — मञ्जु भुजेल।, म बुधबार दिउँसो ठिक ३ बजे मञ्जु भुजेलले भनेको ठेगानामा पुगेँ — म्हेपी मिलिजुली टोल, दिप्सिका स्कुल।, मञ्जु स्कुलको गेटैमा मलाई पर्खेर बसेकी थिइन्।, ‘स्कुल छुट्टी छ दिदी आज,’ मैले आँगन सुनसान देखेर सोधेँ।, ‘स्कुल यहाँबाट सरिसक्यो,’ उनले भनिन्, ‘त्यसपछि त हामी बस्न आएको।’, मञ्जु भदौ महिनादेखि यहाँ बस्न थालेकी हुन्। पहिले स्कुलको कक्षा चल्ने दुइटा कोठा भाडामा लिएकी छन्। सायद साना नानीबाबुहरू ती कक्षाकोठामा पढ्दा हुन्। भित्तामा रंगीबिरंगी चित्रहरू अहिले पनि उस्तै गाढा छन्।, जुन कोठामा मञ्जुको भान्सा छ, त्यहाँ ग्यास चुह्लोको ठ्याक्कैमाथि नीलो रङका दुइटा चरा पखेटा फिँजाएर फुरफुर उड्दै गरेका देखिन्छन्। दुई चराको बीचमा घना वृक्ष छ। सायद ती चराले त्यही वृक्षको कुनै हाँगामा आफ्नो गुँड लगाएका छन्। भित्तामा कतैकतै सेता बादलहरू छरिएका छन्। केही चरा ती बादल छिचोलेर धर्तीभन्दा धेरै माथि आकाशमा उडिरहेका छन्।, ती चरा, त्यो वृक्ष र ती बादलहरू कसैको कल्पनाका आकृतिका हुन् — मञ्जु भुजेल र उनको परिवारको सपनाजस्तै।, मञ्जु पनि २०५८ जेठ महिनामा कतै गुँड भेटिएला कि भनेर खोज्दै, कुनै बादल छिचोलेर उड्ने आकाश खोज्दै रामेछापबाट काठमाडौं आएकी हुन्।, उनको माइती भोजपुर हो। २०५७ सालमा उनी बिहे गरेर रामेछाप पुगिन्। रामेछापमा पुर्ख्यौली घर त थियो तर घर चलाउने आधार थिएन। जग्गा–जमिन थिएन, खेत थिएन, बारी थिएन। खरबारीजस्तो पाखो एउटा टुक्रा थियो, जहाँको माटो बगरको जस्तो थियो।, ‘अलि अलि मकै, अलि अलि गहँत, अलि अलि मस्याङ हुन्थ्यो,’ मञ्जुले भनिन्, ‘त्यो पनि वर्षदिनको उब्जनीले छ महिना पनि नधान्ने।’, यस्तोमा कसरी व्यवहार चल्ला भनेर मञ्जु र उनका श्रीमानले सल्लाह गरे र एउटा राम्रो भविष्यको सपना कोरल्न काठमाडौं आए।, ‘जुन साल दरबार हत्याकाण्ड भयो नि, म त्यही साल काठमाडौं आएको। हामी आएको दुई–तीन दिनमै राजाको वंशै सखाप भयो। मान्छेहरू शोकमा थिए। कतिले कपाल खौरे। कयौं दिन बजार ठप्पै भयो,’ उनले भनिन्।, अनि?, मञ्जु एकछिन अडिइन्। , मैले पर्दैन, पर्दैन भन्दाभन्दै उनले ग्यास चुह्लोमा चिया बसालेकी थिइन्। चिया भकभक उम्लिन थालेछ। उनले चुह्लो निभाइन्। कपमा तररर चिया हालिन्। कपलाई एउटा प्लेटमा राखिन् र दुइटा पफसहित मेरो अगाडि राखिदिइन्।, ‘किन यति दुःख गर्नुभएको दिदी?’ मैले भनेँ।, ‘पाहुनालाई एक कप चिया खुवाउन के को दुःख!’ मञ्जुले भनिन्।, उनी कुनै दिन यो सहरमा पाहुना नै थिइन्। गरिखाने मेलो खोज्दै सहर पसेका उनीहरूका निम्ति भने यहाँ कसैले किस्तीमा सजाएर केही राखेका थिएनन्। मञ्जुको माइतीतिरका एक जना दिदीले काम खोज्दिन्छु त भनेकी थिइन् तर त्यो काम पाउनुअघि थुप्रै दिन यताउति भौंतारिनुपरेको उनी बताउँछिन्।, आखिरमा उनै दिदीको सहयोगमा मञ्जु र उनका श्रीमानले लैनचौरस्थित भारतीय दूतावासको बगैंचामा काम पाए।, काम थियो, फूल गोड्ने र फूलमा पानी हाल्ने — उनीहरूको जिन्दगीजस्तै, सपना गोड्ने र सपनामा पानी हाल्ने।, दूतावासमा काम गर्ने भए पनि उनीहरू दूतावासका कर्मचारी थिएनन्। उनीहरू ठेकेदारमार्फत् त्यहाँ खटिएका थिए। एक जनालाई महिनाको १७ सयका दरले दुई जनाको महिनावारी ज्याला ३४ सय रूपैयाँ थियो।, ‘त्यतिखेर काठमाडौंमा खान र कोठाभाडा तिर्न त्यो पैसा ठिक्क हुन्थ्यो,’ मञ्जुले भनिन्।, २०५९ सालमा मञ्जुको पहिलो बच्चा भयो। आफूले नपढे पनि बालबच्चालाई धेरै पढाउने मञ्जुको धोको थियो। त्यसैले पेट काटेर भए पनि उनले छोरालाई सामाखुसीको नवोदित स्कुल भर्ना गरिन्।, तर उनको जिन्दगीमा एउटा ठूलो बज्रपात आइलाग्यो।, पाँच वर्ष उमेरमा छोराको टाइफाइडले मृत्यु भयो। त्यति बेला ऊ ‘एलकेजी’ पढ्दै थियो।, मञ्जुले हिम्मत हारिनन्। उनी हिम्मत हार्ने अवस्थामा थिइनन् पनि। किनभने, २०६० सालमा दोस्रो छोरा जन्मिसकेको थियो। दोस्रोको सुर्ताले उनलाई पहिलोको शोक मनाउने मौकै दिएन।, त्यसपछि २०६५ मा छोरी जन्मिइन्, २०६७ मा कान्छा छोरा।, यसबीच दूतावासको जागिर छुटिसकेको थियो। बालबच्चा स्याहार्नुपर्ने भएपछि उनले बगैंचामा दिनभरि फूल स्याहार्न समय पाइनन्। श्रीमानले पनि त्यो काम छाडे र ज्याला–मजदुरीमा लागे। उनी कहिले बालुवा बोक्न जान्थे, कहिले घर बनाउने ज्यामी काम गर्थे।, ‘खाने मुख थपिँदै थियो, कमाउने हात एक जनाको मात्र,’ उनले भनिन्, ‘यस्तरी त कसरी गुजारा चल्ला, बालबच्चाको भविष्य के होला भनेर मलाई साह्रै टेन्सन हुन्थ्यो। छोराछोरीको मुख हेर्दै घरमा बसेर भएन, केही न केही त गर्नैपर्‍यो भनेर म तीनै जना बच्चा च्यापेर कामको खोजीमा सामाखुसी, लैनचौर, सोह्रखुट्टेतिर यताउति घुमिरहन्थेँ।’, यही क्रममा लैनचौरमा सडक किनार मकै पोल्ने एक महिलासँग मञ्जुको चिनाजानी भयो।, ‘म केटाकेटी बोकेर दिनहुँ सडकमा भौंतारिएको देखेर ती दिदीलाई दया लागेछ क्यारे, एकदिन मलाई बोलाउनुभयो र आफूसँगै राख्नुभयो। भोकाएका मेरा बच्चाहरूलाई मकै पनि खुवाउनुभयो,’ उनले भनिन्, ‘म त्यसपछि सधैं उहाँकोमा जान थालेँ। हामी एकअर्काको दुःख बाँड्थ्यौं। हामी को हो, को हो मान्छे एउटै रगत नाताको दिदी–बहिनीजस्ता भएका थियौं।’, एकदिन ती दिदीले मञ्जुलाई भनिन्, ‘तिमी मै जस्तो कम गर, यत्तिकै त कसरी यी तीन–तीन जना बच्चा हुर्काउँछौ!’, ‘हुन त हो दिदी, तर म यस्ती सोझीलाटी छु,’ मञ्जुले त्यस दिन ती दिदीलाई दिएको जवाफ सुनाउँदै मसँग भनिन्, ‘म अहिले त केही न कामकी सोझीलाटी छु। त्यति बेला त झन् काँ, के हो यसै अलमल्ल पर्थेँ।’, मञ्जुको हिच्किचाहट ती दिदीले नै दूर गरिदिइन्, ‘तिमी गर्छु मात्र भन न, म सब सिकाइहाल्छु नि!’, मञ्जुले आफ्नो मन दरिलो पारिन्।, त्यसपछि उनलाई मकै किन्ने ठाउँ, मकै पोल्ने तरिका, मकै कहाँ बेच्ने लगायत सबथोक ती दिदीले नै सिकाइन्। जसरी एक असल विद्यार्थी आफ्नो गुरूले देखाएको बाटोमा लुरूलुरू हिँड्छ, त्यसरी नै मञ्जु ती दिदीले सिकाएको बाटो अघि बढ्दै गइन्।, ‘त्यो दिदीको मलाई कति गुन लाग्छ कति!’ उनले भनिन्, ‘उहाँले मलाई दया गरेर दस–बीस हजार पैसा दिएको भए त्यही बेला खाएर सकिन्थ्यो। उहाँले सीप सिकाइदिनुभयो, त्यो सीपले अहिले मलाई बाँच्ने आधार भएको छ। उहाँ त मेरो जिन्दगीमा आमाजस्तै भएर आउनुभयो।’, केही वर्षसम्म ती दिदी र मञ्जुले सँगसँगै मकै बेचे। सँगसँगै दुःखसुख बाँडे। पछि उनीहरूको ठाउँ फेरियो। बेलाबेला बाटोमा जम्काभेट हुँदा कुराकानी हुन्थ्यो। त्यही पनि पातलिँदै एकदिन चट्टै बन्द भयो।, ‘उहाँ काठमाडौं छाडेर घरतिर जानुभयो कि के भयो, मलाई थाहै भएन,’ उनले भनिन्, ‘त्यसपछि हाम्रो कहिल्यै भेट भएन। मलाई त्यो दिदीलाई एकचोटि मात्र भए पनि देख्न पाए हुन्थ्यो भन्ने लागिरहन्छ।’, मञ्जुलाई अहिलेसम्म याद छ, मकै बेच्ने काममा लाग्दा ती दिदीले भनेकी थिइन्, ‘दिनको सय, डेढ सय कमाइ भइहाल्छ, तिमीलाई दुःख–दुःख भए पनि खान र कोठाभाडा तिर्न पुग्छ।’, यही हौसलाले मञ्जु पहिलोचोटि सडक व्यापारमा लागेकी थिइन्।, ‘जुन दिन मकै बेचेर दिनकै दुई–तीन सय रूपैयाँभन्दा बढी कमाइ भयो, त्यो दिन म कत्ति खुसी भएँ कति!’ मञ्जुले भनिन्, ‘अब म काठमाडौंमा बाँच्न सक्छु जस्तो लाग्यो।’, उनी आफ्ना साना छोराछोरी सँगसँगै च्यापेर सडक किनार मकै बेच्न जान्थिन्। घाम–झरी हुँदा ओत लाग्ने ठाउँ खोजेर केटाकेटीलाई त्यहीँ राख्थिन्। अरू बेला उनी मकै पोल्दै, बेच्दै हुन्थिन्, छोराछोरी नजिकै फोहोरमा लडिबुडी गरिरहेका हुन्थे।, ‘घरमा छाड्न मिल्थेन?’ मैले सोधेँ।, ‘घरमा कल्ले हेर्छ र छाड्नू!’ उनले जवाफ दिइन्, ‘श्रीमान दिनभरि ज्यामी काम गर्न जाने, बिहान गएपछि एकैचोटि राति हो आउने। बूढी सासू त हुनुहुन्थ्यो तर उहाँले हेर्न सक्ने होइन। अनि आफू जहाँ जहाँ गयो, छायाजस्तो त्यहीँ त्यहीँ लग्यो।’, म चुप्प लागेर उनको कुरा सुनिरहेँ।, ‘केही वर्ष यसरी नै मकै पोलेपछि एक जना दाइले छड्के छाना भएको ठेला खोज्दिनुभयो,’ उनले भनिन्, ‘मैले ८ हजार ५ सय रूपैयाँमा त्यो ठेला किनेँ। त्यसपछि चाहिँ मलाई नानीहरूलाई आफूसँग लैजान अलि सुविस्ता भयो। त्यति बेलासम्म ठूलो बाबु स्कुल जान थालिसकेको थियो। बाँकी दुई जनालाई म ठेलामै सुताउँथेँ, त्यसैमा मकै पनि पोल्थेँ।’, मञ्जुले धेरै वर्ष त्यो छड्के छाना भएको ठेला चलाइन्। पछि त्यो बेचेर १३ हजार रूपैयाँमा छाना नभएको नयाँ ठेला किनिन् र मकै छाडेर तरकारी बेच्न थालिन्। गत साता महानगर प्रहरीहरूले खोसेर कहिल्यै फिर्ता नगर्ने गरी जफत गरेको उनको त्यही दोस्रो ठेला हो।, ‘त्यो ठेला मेरो कमाइ खाने भाँडो मात्र थिएन, मेरो साथी थियो,’ उनले भनिन्, ‘बाबुको खुट्टा भाँच्चिदा म उसलाई त्यही ठेलामा राखेर स्कुल पुर्‍याउन जान्थेँ। घरमा पानी नआउँदा त्यही ठेलामा पानी ओसार्थेँ। ग्यास सिलिन्डर ल्याउनुपर्‍यो भने आफू बोकेर ल्याउन सक्ने होइन, त्यही ठेलामा ल्याउँथेँ। म त्यसैमा तरकारी बेच्थेँ र छोराछोरी निदाए त्यसैमा सुताउँथेँ। मेरो रोजीरोटी र आडभर नै त्यही ठेला थियो।’, मञ्जुको यो भनाइ मित्रनगर मार्गमा भेटिएकी पार्वता शर्माले पनि पुष्टि गरेकी थिइन्। किराना पसल चलाउने उनलाई मञ्जुको नाउँ त थाहा थिएन तर टोलमा रहँदा–बस्दा दिनहुँ मञ्जुलाई देख्ने गर्थिन्।, ‘साह्रै दुःख पाएको मान्छे हो। दुई जना सान्साना छोराछोरी छन्,’ उनले भनेकी थिइन्, ‘केटाकेटी सान्साना हुँदा ठेलामै बोकेर हिँड्थिन्।’, त्यही किराना पसलछेउ होटल चलाउने खिमा ओलीले पनि सहानुभूति पोख्दै भनेकी थिइन्, ‘यो दिदीको त खाने उपाय भनेकै त्यही ठेला हो। अब के गर्लिन् बिचरी?’, मैले त्यही प्रश्न मञ्जुलाई सोधेँ– महानगरले ठेला खोसेपछि के गर्दै हुनुहुन्छ त?, ‘तीन दिन त यस्सै बसेँ। के गर्ने, के गर्ने, टेन्सन भयो,’ उनले विस्तार लगाइन्, ‘अहिले एउटा उपाय लगाएको छु।’, ‘माछापोखरीकी एक जना दिदीले आफ्नो ठेला राख्दे भनेर मलाई दिनुभएको थियो। मेरो ठेला खोसिएपछि म उहाँलाई भेट्न गएँ र ‘दिदी तपाईंको ठेला म चलाउँछु है’ भनेँ।’, ती दिदी सुरूमा अलि हच्किइन्, ‘अहिले यस्तो माहोल छ, मेरो पनि त्यही एउटा ठेला हो, तँलाई थाहा छँदैछ।’, मञ्जुले बिन्ती गरिन्, ‘दिदी, ठेला नचलाए त मैले मेरा बच्चाहरूलाई के खुवाउनू?’, दिदीलाई पनि मञ्जुको अवस्था देखेर टिठ लागेछ क्यारे, भनिन्, ‘जोगाएर चलाउने भए चला। के भनूँ त म! खोसियो भने चाहिँ हामी दुवैको बर्बाद हुन्छ।’, मञ्जुले ‘हुन्छ’ भनिन्।, ‘दिदीको डर पनि ठिकै हो। मैले देखी–देखी उहाँले १३ हजार हालेर किनेको ठेला हो,’ मञ्जुले मलाई सुनाइन्, ‘मेरो एउटा ठेला त गयो गयो, यो पनि गयो भने दिदीलाई पनि घाटा, मलाई पनि घाटा!’, जतिसुकै चुनौती भए पनि मञ्जुलाई ठेला नचलाई धर छैन।, दुई दिन भयो, उनी पैँचो लिएको ठेला बोकेर फेरि सडकमा निस्किन थालेकी छन्। यसपालि होसियार छिन्। जोगिएर हिँड्छिन्। मूल सडकमा त झुक्किएर पनि जाँदिनन्। सहायक बाटाहरूमा पनि कहिलेकाहीँ मात्र छिर्छिन्। प्रायः भित्री गल्लीहरूमै बस्छिन्। त्यहाँ पनि महानगरका प्रहरीले देख्लान् भनेर लुक्दै छिप्दै हिँडिरहेको उनी बताउँछिन्।, ‘उनीहरू भैँचालो आएजस्तो, हुरीबतास आएजस्तो हुरहुर्ती आउँछन्। त्यसैले एउटा गल्लीमा धेरै बेर बस्दिनँ। एक ठाउँमा बसेर अलिअलि बेच्छु अनि फेरि अर्को गल्ली छिरिहाल्छु,’ उनले भनिन्।, महानगरबाट लुटिने डरले लुकिछिपी व्यापार गर्दा सिधा असर उनको कमाइमा परेको छ।, पहिले उनी बिहान कम्तिमा ९ बजेसम्म व्यापार गर्थिन्। अहिले साढे ७ र बढीमा ८ बजे घर फर्किसक्छिन्। बेलुकी पनि ४ बजेतिर एकछिनलाई मात्र निस्कन्छिन्। यति कम समयमा साग बेच्न निकै मुश्किल पर्ने उनी बताउँछिन्।, ‘आजैको कुरा गरूँ न, मैले माछापोखरीबाट २८ सय रूपैयाँको साग ल्याएको थिएँ। गल्लीहरूमा लुक्दै लुक्दै बिहान साढे ७ बजेसम्म जम्माजम्मी आधा बेचेँ होला,’ उनले भनिन्, ‘अब बेलुकी एक्कैछिन निस्किन्छु। त्यो बेला बिक्यो भने बिक्यो, नभए कुहियो।’, यसरी मुटु गह्रुँगो पार्दै डरैडरमा काम गरेर कति दिन जीवन धानिने हो, उनलाई थाहा छैन।, ‘कहिलेकाहीँ त सम्झीसम्झी साह्रै टेन्सन हुन्छ भन्या। एक मनले गाउँ नै गएर बसूँ कि जस्तो लाग्छ तर त्यहाँ पनि के छ र? कसरी कमाएर खाने? खरबारीजस्तो सानो पाखो छ, केटाकेटी ठूला हुँदैछन्, कसरी सबको मुख टाल्ने?’ मञ्जुले विवशता पोखिन्।, उनले अगाडि भनिन्, ‘फेरि सम्झिन्छु, अहिले केटाकेटीको पढ्ने उमेर छ। यो बेला पढाउन सकिएन भने भोलि मजस्तै बाटोमा रोईरोई हिँड्नुपर्ने त होला नि भन्ने सम्झेर हिक्का छुटेर आउँछ।’, मञ्जुका तीन सन्तानमध्ये ठूलो छोरा गत वर्ष एसइई पास गरेर बसेका छन्। उनले आठ कक्षासम्म सामाखुसीको नवोदित स्कुलमा पढेका थिए। त्यहाँ शुल्क महँगो भएपछि सोह्रखुट्टेको सिद्धीगणेश स्कुल जान थाले। बीचमा केही समय पढाइ छाडे। पोहोर चाहिँ प्राइभेटबाट एसइई जाँच दिए।, ‘आर्थिक अवस्थाकै कारण छोरालाई क्याम्पस भर्ना गर्न सकेको छैन। ममी मेरो क्याम्पस भर्ना गर्ने होइन भनेर सोध्छ, म के गरूँ?’ मञ्जुले भनिन्, ‘यो वर्ष जसरी भए पनि भर्ना गर्दिन्छु भन्ने सोचेको थिएँ, महानगरले जिन्दगी नै तितरबितर पार्दियो। अब त झन् कसरी पो पढाउने होला? उसको जिन्दगी नै बिग्रेला कि भन्ने डर छ।’, मञ्जुले छोराछोरीको चिन्ताले अनुहार मलिन पारिरहेकै बेला पछाडिबाट ‘ममी’ भन्ने आवाज आयो।, मैले फरक्क फर्केर हेरेँ।, उनकी छोरी रहिछन्, स्कुलबाट फर्केकी।, उनी स्कुल ड्रेसमै कोठाभित्र छिरिन्। पानी पिइन् र बाहिर निस्किहालिन्। बीचमा पुलुक्क मलाई हेरेर हाँसु कि नहाँसु जस्तो गरेकी थिइन्। म चाहिँ उनलाई हेरेर मुसुक्क हाँसेँ। भन्न चाहिँ केही भनिनँ।, ‘भाइ खोई त?’ मञ्जुले छोरीलाई सोधिन्।, ‘अघि नै हिँडेको हो, आउँदै होला,’ उनी यति भनेर अलप भइन्।, ‘चौध वर्षकी भई,’ मञ्जुले मतिर हेर्दै भनिन्, ‘आठ कक्षा पढ्छे, त्यहीँ सिद्धीगणेशमा।’, ‘कस्तो छ पढाइ?’ मैले सोधेँ।, ‘ठिकै छ,’ उनले भनिन्, ‘पहिले त यो छोरी ठेलामा सघाउन आउँथी। अहिले साथीहरूले देख्यो भने जिस्क्याउँछ भनेर आउन मान्दिन।’, उनले यति भन्दाभन्दै सानो छोरा आइपुगे, स्कुल ड्रेसमै। उनी १२ वर्षका भए। सिद्धीगणेशमा पाँच कक्षा पढ्छन्। मलाई हेरेर मुसुक्क हाँसे। मैले ‘के छ बाबु?’ भनेर सोधेँ। उनले ‘ठिक छ’ भने अनि कोठाबाट फेर्ने लुगा झिकेर निस्किहाले।, मञ्जुसँग कुराकानीको सिलसिला जारी थियो।, ‘यिनीहरूकै पढाइको चिन्ताले हो, सहरमा बस्नुपरेको। नभए अब त बस्नै नसकिने भयो। सरकारले हामी गरिबहरूलाई बाँच्नै नदिने भयो। पहिला महँगीले मारेको थियो, अब त झन् गरिरहेको जीविका नै खोसेपछि कसरी बाँच्नू? के खाएर बाँच्नू? कसरी परिवार पाल्नू? कसरी भाडा तिर्नू?’, मञ्जु अहिले जुन घरमा बसिरहेकी छन्, त्यहाँ दुइटा कोठाको दस हजार रूपैयाँ भाडा तिर्नुपर्छ। त्यसअघि पन्ध्र वर्ष नजिकै अर्को घरमा बस्थिन्। त्यहाँ भाडा ४५ सय थियो।, ‘केटाकेटी ठूला हुँदै गए। सासू पनि आउनुभयो। दुइटा कोठा नलिई हुँदै भएन,’ उनले भनिन्।, यी सब घरव्यवहार चलाउन पनि मञ्जुलाई ठेला नचलाई सुख छैन।, ‘महानगरका सरहरू सटर भाडामा लिऊ भन्नुहुन्छ। सटरमा लगानी गर्ने पैसा भइदिएको भए ठेला धकेलेर बसिन्थ्यो होला र? मान्छेले दुःख परेर त ठेला ठेल्छ होला नि, सुख पाउने भए के को रहर थियो होला र!’ मञ्जुले भनिन्, ‘हाम्रो त देशै गरिब, दुःखीहरूको। अनि ती दुःखी–गरिबलाई गरिखान दिने काम सरकारकै होइन? किन त यस्तोविधि हामीलाई खेदेको?’, उनले अगाडि भनिन्, ‘बरू हामीलाई ठाउँ तोकेर, समय तोकेर बस्न दिए त भइहाल्थ्यो। अफिस टाइम नपारेर, मूलसडकमा भीड नहुने गरी यो–यो समयमा मात्र बेच्नू भने हामी त्यही त्यही समयमा बेच्थ्यौं नि। गरिखाने साधनै खोसेर, गरिखानै नदिएर किन हामीलाई बर्बाद पारेको?’, मञ्जुका अनुसार पहिले मूल सडकमा गयो भने मात्र नगर प्रहरीले लखेट्न आउँथ्यो। अहिलेजस्तो भित्री बाटोहरूमा समेत खोजी खोजी हिँड्थेन। त्यसमाथि भाग्यो भने यसै छाड्थ्यो। अहिले त भागे पनि लखेटी लखेटी नसमाती छाड्दैन, उनले भनिन्, ‘यी प्रहरीले चोरडाँकालाई पनि यस्तरी लखेट्दैनन् होला, जति हामीलाई लखेट्छन्।’, लामो समयदेखि ठेलामा तरकारी बेच्ने अनुभवका आधारमा मञ्जुले तरकारीसँग जोडिएको अर्थशास्त्र पनि सुनाइन्।, ‘हामीले ठेला चलाएर तीनवटा समूहलाई फाइदा भइरहेको छ,’ उनले भनिन्, ‘एउटा त ठेला चलाउनेहरूलाई नै भइहाल्यो। यसले हाम्रो रोजीरोटी चलेको छ, घरव्यवहार धानिएको छ। दोस्रो, मान्छेले घरघरमा, टोलटोलमा सस्तो तरकारी किन्न पाइरहेका छन्। ठेलाजति जम्मै हटाइदिएर महानगरले भनेजस्तो सटर–सटरमा मात्र तरकारी बेच्ने हो भने कति छुनै नसक्ने महँगो हुने होला?’, ‘अनि तेस्रो, ठेला र साइकलमा तरकारी बेच्नेहरूले गर्दा किसानको उत्पादन पनि धेरै खपत भएको छ। हामीले बेच्न नपाउने हो भने बिचरा ती किसानहरूले आफ्नो तरकारी कहाँ लगेर बेच्ने? कसलाई बेच्ने? बारीमा कुहिने भएन सबै?’, ‘मैले आफ्नो सोझो बुद्धिले हेर्दा त सबैलाई सबैतिरबाट घाटा मात्र देख्छु। महानगरलाई चाहिँ के लागेको होला, बुझेको छैन।’, ‘महानगरले हुँदै हुन्न, राख्नै दिन्न भन्यो भने के गर्नुहुन्छ त दिदी?’ मैले सोधेँ।, ‘बाध्यता छ, मजबुरीले लुकिछिपी भए पनि गर्नैपर्छ। अरू राम्रो रोजगार पाए, पुर्ख्यौली सम्पत्ति पनि अलिअलि भइदिएको भए यो काम गरेर बस्ने रहर कसलाई थियो र? बच्चाहरूलाई टिफिन किन्दिनुपर्छ, पैसै चाहियो। चामल सकिन्छ, पैसै चाहियो। ग्यास सकिन्छ, पैसै चाहियो। कोठाभाडा तिर्नुपर्छ, पैसै चाहियो। सास फेर्न पनि पैसा चाहिने सहरमा हामीले काम नगरेर भो त? अनि यही काम गरेर गुजारा गर्नेहरूलाई तितरबितर पारेपछि हाम्रो त ज्यानै लिएजस्तो भएन र?’ उनले जवाफ दिइन्।, अगाडि भनिन्, ‘तै पनि सधैं यस्तरी नै खोजी खोजी समात्न थाले र अहिलेजस्तै ठेला लुटेर लगेको लग्यै गर्‍यो भने चाहिँ के गर्ने होला, सोचेकै छैन। हामी त अलमल्ल छौं। बूढा केही समयअघि घर जानुभएको थियो। अब उहाँ आएपछि सल्लाह गर्नुपर्ला।’, यति भनेर मञ्जुले लामो सास फेरिन्।, सायद त्यो लामो सासले उनको गह्रुँगो छाती केही हल्का भयो होला, थाप्लो सुन्निने दुःखको भार त के कम हुन्थ्यो र!, मञ्जुले मेयर बालेन शाहसँग केही गुनासा पनि पोखिन्।, ‘उहाँ त धेरै माथिको मान्छे, हामी निकै तलको। उहाँले माथिबाट हेर्दा सायद हामी तलको मान्छेका दुःख देख्नुहुन्न होला,’ उनले भनिन्, ‘अर्को कुरा पनि हुनसक्छ। सायद उहाँ जिन्दगीमा सुखैसुखमा हुर्कनुभयो। गरिबी के हो, गरिबको पिरमर्का कस्तो हुन्छ भन्ने उहाँले देख्नु–भोग्नुभएकै छैन। त्यसैले, ठेलाहरू हटाउँदा त्यही ठेला चलाएर गरिखाने परिवारलाई के बित्छ भन्ने उहाँलाई थाहै छैन।’, उनले यो पनि भनिन्, ‘हाम्रो दुःख उहाँसम्म पुगेको पनि छैन कि! हामीमाथि भइरहेको अत्याचार र हामीलाई तितरबितर पारेको भिडिओ उहाँले देख्नुभएकै छैन कि! देखेको भए त मान्छे यतिसम्म निर्दयी कसरी हुनसक्थ्यो होला र! बरू कसैले उहाँलाई हाम्रो दुःख सुनाइदिए हुने नि! हामीलाई चोरडाँकाजस्तो गल्ली–गल्लीमा लखेटेको, हामीलाई रूवाई रूवाई हाम्रा सामान खोसेको भिडिओ देखाइदिए हुने नि! कसैगरी उहाँको मुटु पग्लन्थ्यो कि! अनि मुटु पग्लेर हामीलाई गरिखाने केही उपाय लगाइदिनु हुन्थ्यो कि!’, मनभरिको दुःख र गुनासो सुनाएपछि उनी धेरै बेर एकोहोरो टोलाइरहिन्, चुपचाप।, म उनीसँग विदावारी भएर बाहिर निस्केँ।, आँगनमा उनले माछापोखरीकी दिदीसँग सापट लिएको ठेला थियो। मैले उनलाई त्यही ठेलाअगाडि राखेर केही फोटो खिचाएँ।, एक–दुइटा खिचेपछि उनको अनुहार लजाएजस्तो रातो–रातो भयो अनि ‘अब पुग्यो है’ भन्दै उनी कोठाभित्र छिरिन्।, लजाएकी होइनन्, सायद डराएकी हुन्!, योसँग त अर्को ठेला पनि रहेछ, भोलि नै गएर खोस्नुपर्‍यो भन्दै महानगर प्रहरीहरू घरमै छापा मार्न आउलान् कि भन्ने उनलाई डर हुनसक्छ!, हिजोसम्म उनलाई गरिबीको पिर मात्र थियो, अब उनको जीवनमा डर पनि थपिएको छ — महानगरको डर!, सबै तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी, यो पनि हेर्नुहोस्:, महानगरमा लखेटी–लखेटी ठेला खोसिएकाहरूको कथा,  , हाम्रो दुःख मेयर बालेनसम्म पुगेको पो छैन कि!
युवराज श्रेष्ठ पोखरा महानगरका सडकबाट पार्किङ शुल्क असुल्ने ठेकेदार कम्पनीले सम्झौताअनुसार महानगरलाई किस्ता रकम नबुझाएको पाइएको छ।, कम्पनीले ठेक्का सम्झौताता भएपछि पहिलो किस्ता बुझाए पनि तीन किस्ता बुझाउन बाँकी रहेको महानगरका लेखा प्रमुख जयराम पौडेलले जानकारी दिए।, पौडेलका अनुसार ठेकेदार कम्पनीले तीन किस्ता गरी १ करोड ९० लाख २ हजार रूपैयाँ महानगरलाई बुझाउन बाँकी छ।, बारम्बार ताकेता गर्दा पनि कम्पनीले सम्झौताअनुसार किस्ता नबुझाएको पौडेलले सेतोपाटीलाई बताए।, ‘हामीले बारम्बार बोलाएर किस्ता बुझाउन भन्यौं तर बुझाएका छैनन्,’ उनले भने, ‘कम्पनीले अनेक बहाना गरेर टार्दै आएका छन्।’, पोखरा महानगरले २०७७ मंसिर १४ गते विभिन्न १५ वटा सडकबाट पार्किङ शुल्क उठाउन ३ करोड १६ लाख ७० हजार रूपैयाँमा २ वर्षका लागि ठेक्का दिएको थियो। ठेक्का सम्झौता अनुसार कम्पनीले पहिलो किस्तावापत ६३ लाख ३४ हजार रूपैया बुझाएको थियो।, ठेक्का सम्झौता अनुसार कम्पनीले सडकमा पार्किङ गरेका मोटरसाइकल र स्कुटरसँग १० रूपैयाँ, मझौला सवारीले २० रूपैयाँ र बस लगायत ठूला सवारीले प्रति घण्टा ३० रूपैया असुलेका थिए।, ठेकेदार कम्पनीले ठेक्का पाएका १५ वटा मुख्य सडक र बजार क्षेत्रबाहेक अन्य भित्री गल्लीबाट समेत उक्त शुल्क उठाउँदै आएको छ।, सडक पार्किङ शुल्क उठाएर महानगरलाई बुझाउन आनाकानी गरेका ठेकेदार कम्पनीलाई महानगरले चैत मसान्तसम्म म्याद थपेको छ।, महानगरका निवर्तमान मेयर मानबहादुर जिसीले जाँदाजाँदै गत वैशाख २२ गते म्याद थप्ने निर्णय गरेका हुन्। त्यतिबेला कोभिड–१९ का कारण ४ महिना म्याद थप्ने निर्णय कार्यपालिका बैठकबाट भएको लेखा प्रमुख पौडेलले बताए।, ठेकेदार कम्पनीले भने ६ महिना म्याद थप्न दवाब दिएका थिए।, सडकबाट पार्किङ शुल्क उठाउने ठेकेदार कम्पनीले म्याद थपिएको भन्दै अझै पार्किङ शुल्क असुलिरहेका छन्। महानगरका मेयर धनराज आचार्यले भने कम्पनीले तिर्नुपर्ने शुल्क नतिरे ठेक्का सम्झौता रद्द गर्ने बताए।, ‘लकडाउनका कारण म्याद थपिएको पाइयो, तर ठेकेदार कम्पनीले महानगरलाई किस्ता बुझाएको छैन,’ उनले भने, ‘किस्ता नबुझाए ठेक्का रद्द हुन्छ।’, किस्ता रकम नबुझाए ठेकेदार कम्पनीले सम्झौता गर्दा राखेको धरौटी असुल्ने महानगरले तयारी छ। रकम बुझाएको खण्डमा भने थपिएको म्याद अनुसार चैतसम्म पार्किङ शुल्क उठाउन दिने आचार्यले बताए।, ‘महानगरले जति रकम लिन बाँकी छ, त्यति रकम बुझाए चैतसम्म शुल्क उठाउन दिन्छौं,’ उनले सेतोपाटीसँग भने, ‘नभए महानगरले लिनुपर्ने रकम धरौटीबाट असुली गरेर ठेक्का रद्द गर्छौ।’, अब पोखरामा पार्किङका लागि नयाँ ठेक्का नखोल्ने समेत मेयर आचार्यले स्पष्ट पारे। ठेकेदार कम्पनीले रकम बुझाए पनि चैतपछि नयाँ टेण्डर नखुल्ने उन बताए।, यो पनि हेर्नुहोस्, पोखराका सडकमा पार्किङ ठेक्का, मेयर भन्छन्- कहाँ पार्किङ गर्ने त?, पोखराका पार्किङ ठेकेदारद्वारा २ करोड बुझाउन बाँकी, धरौटीबाट असुल गरी ठेक्का रद्द गर्ने महानगरको तयारी
पूर्णप्रसाद मिश्र बहुप्रतिक्षित मेलम्चीको पानी तेस्रोपटक राजधानी आएको आठ दिनसम्म पनि पूरै पानी राजधानीमा वितरण हुन सकेको छैन। मेलम्चीबाट आएको तीन करोड ५० लिटर पानी अझै राजधानीमा वितरण हुन सकेको छैन।, सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ अम्बाथानस्थित मेलम्ची खोलाबाट ल्याइएको पानी राजधानीमा वितरण सुरू गरिएको आठ दिन पूरा भएको छ।, मंसिर १८ गते मेलम्ची खोलाको पूरै अर्थात् १७ करोड ५० लाख लिटर पानी राजधानी आएको थियो। यसको छ दिनपछि अर्थात् मंसिर २३ गते शुक्रबारदेखि राजधानीका धारामा तेस्रोपटक मेलम्चीको पानी वितरण सुरू भएको थियो।, पानी वितरण सुरू भएको आठ दिनमा पनि पूरै पानी राजधानीवासीलाई वितरण हुन सकेको छैन।, छ महिनासम्म बन्द रहेको वितरण सञ्जालमा आएको समस्याका कारण पूरै पानी वितरण गर्न नसकिएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले जनाएको छ।, मेलम्ची खोलाबाट २६ दशमलव पाँच किमी सुरुङमा हाली सुन्दरीजल प्रशोधन केन्द्रमा ल्याइएको १७ करोड ५० लाख लिटरमध्ये हाल १४ करोड लिटर पानीमात्र राजधानीमा वितरण भइरहेको छ।, केयुकेएल आयोजना कार्यान्वयन निर्देशनालयले निर्माण गरेको नयाँ वितरण सञ्जालमा नियमित पानी नहाल्दा केही ‘भल्व’ मा ‘सिक्वेन्स’ मिलाउन समय लागेको हो।, यसका कारण सबै पानी अझै राजधानीमा वितरण हुन सकेको छैन। सत्र करोड ५० लाख लिटर पानी वितरण गर्न अझै केही दिन लाग्ने केयुकेएलका प्रवक्ता प्रकाशकुमार राईले जानकारी दिए। , मेलम्चीको पानी राजधानीमा वितरणका लागि बनाइएका १० पानी ट्याङ्कीमध्ये हालसम्म नौ वटामा पानी पुगिसकेको छ। हालसम्म बोडेस्थित टिग्नी, कटुञ्जे, खुमलटार, मीनभवन, महाँकालचौर, पानीपोखरी, अनामनगर, बालाजु र बाँसबारीका पानी ट्याङ्कीमा मेलम्चीको पानी पुगेको छ। कीर्तिपुरको ट्याङ्कीमा पानी पुग्न अझै केही दिन लाग्ने उनले सुनाए। केही दिन भित्रमा मेलम्चीबाट ल्याइएको १७ करोड ५० लाख लिटर पानी नै ग्राहकका धारामा पुग्ने छ। , मेलम्ची खानेपानी आयोजनाले भने मंसिर १८ गतेदेखि नै १७ करोड ५० लाख लिटर पानी राजधानीमा ल्याइसकेको प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए।, सुरुङ सफा गरेर मंसिर २३ गते शुक्रबारदेखि राजधानीमा खानेपानी वितरण भइरहेको छ। कति ठाउँमा पाइप फुटेका कारण सडकमा पानी जाने समस्या पनि भइरहेको छ। त्यो समस्या समाधान गर्दै पानी वितरण भइरहेको केयुकेएलले जनाएको छ।, निर्देशनालयले बनाएको नयाँ वितरण सञ्जालका कति स्थानमा अझै पानी परीक्षण हुन सकेको छैन। मेलम्चीको पानी बन्द भएपछि गत असारदेखि पानी परीक्षण पनि रोकिएको थियो। मंसिर १८ गतेदेखि नै १७ करोड ५० लाख लिटर पानी मेलम्ची खोलाबाट राजधानी ल्याइए पनि वितरण सञ्जालमा आएको समस्या र कतिपय स्थानमा परीक्षण गर्दै पानी पठाउनुपर्ने भएकाले १४ करोड लिटर पानीमात्र वितरण भइरहेको हो।,    , पानी नपाएको गुनासो, मेलम्चीबाट पानी ल्याएर प्रशोधन गरिने सुन्दरीजल क्षेत्रका स्थानीयवासीले पानी नपाउँदा गुनासो गरेका छन्। मेलम्चीबाट ल्याइएको १७ करोड ५० लाख लिटर पानी प्रशोधन हुने गोकर्णेश्वर नगरपालिका–१ महाँकाल र त्यसमुनिका स्थानीयवासीले पानी नपाएको भन्दै गुनासो गरेका हुन्। महाँकालको पारिपट्टि कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं १ पर्छ। त्यहाँका मानिसले समेत सहज रूपमा खानेपानी पाउन सकेका छैनन्।, वाग्मती नदीको मुहान क्षेत्र र मेलम्ची नदीको पानी ल्याएर प्रशोधन गरिने यस क्षेत्रका बासिन्दाले खानेपानी नपाएपछि प्रशोधित पानी राजधानीमा वितरण हुन नदिने जनाएका छन्।, यस क्षेत्रका स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले पनि मेलम्चीको पानी आउँदासमेत मुहानवासीले वाग्मतीकै पानी पनि पिउन नपाए प्रशोधन केन्द्रबाट पानी वाग्मती हाल्ने चेतावनी दिँदै आएका छन्। , स्थानीय भीमसेन काफ्लेले सरोकार भएका निकायलाई सुझाव कार्यान्वयन गर्न अनुरोध गरेका छन्।, गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकाका वडामा मेलम्चीको पानी वितरणका लागि नयाँ सञ्जाल निर्माण गरिएको छैन। नयाँ सञ्जाल निर्माण नगरे पुरानै वितरण सञ्जालबाट वाग्मतीको पानी नियमित दिन स्थानीयवासीले गरेको माग पनि सुनुवाइ नभएको गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता नारायणबहादुर सुवेदी बताउँछन्।, गोकर्णेश्वर क्षेत्रमा पानी आउन छोडेको पनि वर्षौं बितेको छ। उचाइमा रहेको यो बस्तीमा पानीको समस्या समाधान गर्न सरोकार भएका निकायलाई अनुरोध गरिएकामा समस्या समाधान नभएपछि नगरपालिकाबाट नै ट्याङ्की बनाउन लागिएको वडाध्यक्ष जयराम महतले बताए। रासस, अझै पूरै बाँडिएन मेलम्चीको पानी
सेतोपाटी संवाददाता झापाको कमल गाउँपालिका वडा नम्बर ५ मा यात्रुबाहक बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जना महिलाको घटनास्थलमै मृत्यु भएको छ।, जिल्ला प्रहरी कार्यालय झापाका अनुसार को ३२ प ८५६ नम्बरको मोटरसाइकललाई पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ५ ख ४८१३ नम्बरको बसले पछाडिबाट ठक्कर दिई दुर्घटना हुँदा मोटरसाइकलमा पछाडि सवार मोरङ बेलबारी नपा ८ बस्ने बर्ष ५८ की तुलसा देवी गुरूङको घटनास्थलमै मृत्यु भएको हो।, मोटरसाइकल चालक सोही नगरपालिका १० बस्ने ५८ वर्षीय शुक्रबहादुर तामाङ सकुशल रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।, प्रहरीले यात्रुबाहक बसका चालक जिल्ला भोजपुर अरूण गाउँपालिका ५ बस्ने ३० वर्षका बल राईलाई नियन्त्रणमा लिएको जनाएको छ।, झापामा बसको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु
सेतोपाटी संवाददाता आज प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, देशका अन्य पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।, आज राति पनि प्रदेश १ र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही हल्का वर्षा हुनुका साथै उच्च पहाडी भूभागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।, तराईका केही  भू-भागमा बिहानैदेखि हुस्सु र कुहिरो लागिरहेको छ। साथै देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै गएकाले चिसोसमेत बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, उच्च पहाडी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना
रासस विषाक्त खान खुवाएको चितवन गार्डेन रिसोर्ट (सिजिआर) लाई तीन लाख रूपैयाँ जरिवाना गर्न अनुगमन समितिले प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गरेको छ।, मंसिर २३ गते सिजिआरमा भएको विवाहका जन्तीले खाएको खानामा विषाक्त वस्तु भेटिएपछि होटललाई जरिवाना गर्न सिफारिस गरिएको हो।, सहायक प्रमुख जिल्ला अधिकारी एवं बजार अनुगमन समिति चितवनका संयोजक चिरञ्जीवी शर्माको संयोजकत्वमा सरोकारवालासहित टोलीले अनुगमनपछि शुक्रबार प्रतिवेदन प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाई बुझाएको हो।, समितिले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ (२) अनुसार अनुचित व्यापारिक तथा व्यवसायजन्य क्रियाकलाप गरी गुणस्तरहीन खाद्यवस्तु उत्पादन गरी सेवा प्रवाह गरेकाले सोही ऐनको दफा ३९ को १ (ख) अनुसार अधिकतम तीन लाख रूपैयाँ जरिवाना तिराउन प्रमुख जिल्ला अधिकारीसमक्ष सिफारिस गरेको छ।, अनुगमन समितिले होटलले गरेको लापरबाहीपूर्ण कार्यका सात बुँदे कैफियतका आधारमा जरिवाना सिफारिस गरेको हो। अनुगमन समितिसमक्ष होटल सञ्चालकले सिल खोली दिन र सात दिनको समय दिन माग गरेको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले बताए।, गत मंसिर २३ गते नवलपुरको गैंडाकोट–१ का गणेश ढकाल र भरतपुर–१० की करिश्मा अधिकारीको सो होटलमा भएको एक बिहे भोजमा सहभागी भएका दुवै पक्षका झण्डै तीन सय जना खाना खाएपछि बिरामी भएका थिए।, भरतपुरको नेसनल सिटी अस्पतालमा झाडापखाला, वान्ता तथा रिङटा लागेर भर्ना भएका बिरामीबाट गरिएको नमूना परीक्षणमा उनीहरूले दिसामा पाइने इकोलाई भन्ने ब्याक्टेरिया पाइएको पुष्टि भएको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले बताए।, होटलले खानामा गम्भीर लापरबाही गरेको पाइएको बताउँदै उनले दिसामा पाइने ब्याक्टेरिया नै भएको पुष्टि भएको बताए। सहायक प्रमुख जिल्ला अधिकारी शर्माले नपाकेको खाना, दही, सलाद, पानीपुरी, अचार आदिमा त्यस्तो ब्याक्टेरिया भएको हुन सक्ने बताए।, समितिको प्रतिवेदनमा सलाद सफा गर्न प्रयोग गरिएको रसायन उपभोग्य मिति समाप्त भएको, ढोका तथा झ्यालमा जाली नभएको, झिँगा देखिएको, कामदारको सरसफाइको अवस्था सन्तोषजनक नभएको उल्लेख छ। यसैगरी भान्सा र भाँडा माझ्ने ठाउँ एकै ठाउँमा रहेको, पिनट बटर र रसवरी उपभोग्य मिति समाप्त भएको र अभिलेख प्रणाली राम्रो नभएको उल्लेख छ।, विषाक्त खाना खुवाएकामा ३ लाख जरिवाना गर्न सिफारिस
रासस पूर्वी नवलपरासीको कावासोती नगरपालिका–१ की गमीसरा घर्ती उमेरले ४९ वर्ष पुगिन् ।, काम गर्नसक्ने उमेरदेखि घरमा पलिएका गाई भैँसीलाई घाँस काट्न सुरु गरेकी उनलाई पछिल्ला केही वर्ष भने घाँसपात गरेर गाई भैँसीपालन गाह्रो हुँदै गएको छ ।, गमीसरालाई जस्तै लालमाया दलार्मीलाई पनि घाँसपात गरेर गाईभैँसी पाल्न निकै गाह्रो हुन लागेको छ ।, नजिकैको सामुदायिक वनले घाँस पात काट्नसमेत प्रतिबन्ध लगाएपछि कावासोती–१ हात्तीखोरका सुकुम्बासी बस्तीका महिलालाई दुई चार पैसा जोहो गर्न पालेका वस्तु भाउलाई कसरी पाल्ने हो भन्ने चिन्ताले सताएको छ ।, बिहान नौ बजे नै हतार हतार खाना खाएर घाँसपात काट्न हिँड्नेहरुलाई घाँसको भारी बोकेर फर्कन पाँच-छ घण्टा लाग्ने कावासोती–१ की लालमाया दलार्मीले बताइन् ।, ‘घर नजिकैको वनमा घाँसपात काटे जरिवाना तिर्नपर्छ, गाई बाख्रा पाल्नै पर्‍यो, घाँसकै लागि आधा दिन बिताउनुपर्छ’, उनले भनिन् ।, सुकुम्बासी बस्ती भएकाले यस ठाउँका अधिकांश परिवारसँग खेतीपाती गर्ने जमिनसमेत छैन । यो बस्तीको आम्दानीको स्रोत भनेकै गाई, बाख्रा, कुखुरा, बङ्गुरलगायतका घरपालुवा जनावर हुन् ।, गाई र बाख्राका लागि घर नजिकै चरनसमेत नभएकाले घाँसकै लागि आधा दिन खर्चिनुपरेको गमीसरा घर्तीले बताइन् । ‘घर नजिकै वस्तु चराउने ठाउँ छैन, वनले घाँस काट्न दिँदैन, घाँस रोप्ने जग्गासमेत छैन, गाई बाख्राकै लागि भए पनि घाँस काट्न दिनभर जसो लाग्छु’, उनले भनिन् ।, यो ठाँउमा घाँसपात गर्न जाने भने अधिकांश ४० वर्षमाथिका रहेका हुन्छन् । नयाँ पुस्ताले घर गोठको काममा मन नलगाउँदा बाध्य भएर आफूहरुनै घाँसपातमा हिँड्नुपरेको सोही स्थानकी टीका मगरले बताइन् ।’छोरी बुहारीले जाँगर गर्दैनन्, गाईबस्तु भोको राख्न भएन ५० वर्ष भइसके घाँस काट्ने दुःखले कहिलै छोडेन’, उनले गुनासो गरिन्, ‘छोराहरु कमाउन जान्छन्, छोरी बुहारी घाँसपात काट्न गोठमा काम गर्न जाँगर गर्दैनन् ।’, वन मासिने क्रम बढेपछि घाँसपातमा समेत प्रतिबन्ध लगाउनुपरेको बस्ती नजिकै रहेको महाराजा सामुदायिक वनका अध्यक्ष तेजेन्द्रकुमार सुनार बताउँछन् ।, अलि पहिलेपहिले घाँसपात काट्न दिइएको भए पनि घाँस काट्ने क्रममा सालको हाँगाबिगा र साना बोटहरुै काट्ने क्रम बढेकाले घाँसपातमा रोक लगाउन परेको अध्यक्ष सुनारले बताए । ‘सालको पात र सामान्य घाँस काट्न दिँदा वननै मासिने डर भयो, दाउराका लागि समय मिलाएर वन खुला गर्र्ने गरे पनि घाँसपात रोकेका छौं’, उनले भने ।, एक भारी घाँसकै लागि आधा दिन
सेतोपाटी संवाददाता लुम्बिनीस्थित मायादेवी मन्दिरमा राखिएका दानपेटिकाबाट दुई महिनाको अवधीमा ६१ लाखभन्दा बढी रकम संकलन भएको छ।, यसअघि गत असोज ३० गते तीन महिना संकलन भएको दानपेटिकाबाट २७ लाख १८ हजार रकम गणना भएको थियो।, यसपटक दुई महिनामै ६१ लाख २० हजार ८ सय ६ रुपैयाँ संकलन भएको लुम्बिनी विकास कोषले जनाएको छ।, लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराई (सिद्धिचरण) ले यसअघि हरेक तीन/तीन महिनामा दानपेटिकामा संकलन भएको रकम गणना हुने गरेकोमा यसपटक दानपेटिका छिटो भरिएपछि दुई महिनामै गणना गरिएको बताए।, विकास कोषले गत सोमबारदेखि रकम गणना सुरू गरेकोमा शुक्रबार गणना सम्पन्न गरेको हो।, बितेका दुई वर्ष कोरोना महामारीका कारण लुम्बिनीमा आउने पर्यटकहरूको संख्या घट्दै गएकोमा पछिल्ला महिना पर्यटन क्षेत्र चलायमान हुन थालेको छ। जसले गर्दा लुम्बिनी अवलोकनको लागि आउने आन्तरिक तथा बाह्य पर्यटकहरूको संख्या बढ्दै जाँदा दानपेटिकामा भेटी समेत बढेको विकास कोषले जनाएको छ।, कात्तिक महिनादेखि लुम्बिनी भ्रमणको सिजन समेत सुरू भएको र छिमेकी देश भारतसहित थाइल्याण्ड, म्यानमार, भियतनाम र युरोपबाट समेत पर्यटकहरू आउनेक्रम बढेको कोषाध्यक्ष भट्टराईले बताए।, लुम्बिनी विकास कोषको सूचना शाखाका अनुसार गत नोभेम्बर महिनामा मात्रै आन्तरिक तथा बाह्य गरी झण्डै एक लाख ३० हजार पर्यटकले लुम्बिनीको अवलोकन गरेका छन्।, एक महिनाको अवधीमा ८२ हजार २ सय ५ जना आन्तरिक पर्यटकले लुम्बिनीको अवलोकन गरेका छन् भने भारतबाट ३८ हजार ६ सय ८९ र तेस्रो  मुलुकबाट ७ हजार ४ सय ७३ जनाले लुम्बिनीको अवलोकन गरेका छन्।, बितेको ११ महिनामा ९ लाख १४ हजार पर्यटक लुम्बिनी आएकोमा भियतनाम, म्यानमार, थाइल्याण्ड, श्रीलंका लगायतका ८४ मुलुकबाट १ लाख ८१ हजारले लुम्बिनी भ्रमण गरेको विकास कोषको सूचना शाखाले जनाएको छ।, त्यस्तै, १ लाख ८८ हजार भारतिय पर्यटक लुम्बिनी आएका छन् भने ५ लाख ४५ हजार नेपाली पर्यटकले लुम्बिनी भ्रमण गरेका छन्।, विकास कोषका कोषाध्यक्ष भट्टराईले कोभिड पछि थलिएको पर्यटन क्षेत्रमा सुधार आएसँगै लुम्बिनी आउने पर्यटकहरूको संख्यामा पनि वृद्धि हुँदै गएको बताए।, लुम्बिनीमा राखिएको दानपेटिकाबाट ६१ लाख बढी भेटी संकलन
सेतोपाटी संवाददाता प्रतिनिधि सभा सदस्य निर्वाचन सकिएको छ। अब नयाँ सरकारको नेतृत्व कसले गर्ने भन्नेमा दलहरुबीच रस्साकस्सी छ।, कुनै पनि एक दलको मात्र बहुमत नपुगेको अवस्थामा गठबन्धन गरेर सरकार बनाउने ध्याउन्नमा शीर्ष राजनीतिक दलहरु छन्।, आम जनताले ५ वर्षका लागि देशको विकास गर्न भनेर चुनेर पठाएका जनप्रतिनिधिहरु जिल्लावासीहरुसँग भेटघाट गरेर बिस्तारै केन्द्रमा उपस्थित हुँदैछन्। अबको महिना दिनभित्र सम्भवतः देशले नयाँ सरकार पाउनेछ।, आम जनताहरु देश विकासमा राजनीतिक दलहरुले चासो नदिँदा असन्तुष्ट देखिएको प्रमाण गत निर्वाचनले पुष्टि गरिसकेको छ।, किनभने ठूला मानिएका राजनीतिक दलहरुका अगाडि नयाँ शक्तिहरुको उदय भएको छ। जनताले विकास चाहेका छन् त्यो पनि तिब्र गतिमा। तर राजनीतिक दल र देशको नेतृत्व जनचाहनाअनुसार अब्बल सावित हुन सकिरहेको छैन।, अबको नेतृत्वले देश विकास गर्नेमा आम सर्वसाधारणहरु आशावादी छन्। तर निर्वाचनबाट जनप्रतिनिधि चुनिएर आइसक्दासमेत काठमाडौं उपत्यकाको अवस्था भने निर्वाचनअघिको भन्दा फरक देखिँदैन।, जताततै अस्तव्यस्त देखिन्छ। भएका संरचना भत्काइएका छन् तर त्यसको व्यवस्थापन भएको छैन। विकास निर्माणका लागि पहलकदमी थाल्नु उचित त हो तर उचित व्यवस्थापन बिनाको विकास निर्माण दिगो हुन सक्दैन।, त्यसैले पनि जनताले चाहेको व्यवस्थापनसहितको विकास निर्माणको खाँचो देखिन्छ। प्रतिनिधि सभाका उम्मेदवार चुनिएको करिव १ महिना पुग्नै लागेको छ। तर काठमाडौं उपत्यकामा अहिले पनि अस्तव्यस्त ठाउँहरु धेरै भेटिन्छन्।, मर्मतसम्भारका लागि शुरु गरिएका ठाउँहरुमा पनि त्यत्तिकै अस्तव्यस्त छ भने काम गर्नुपर्ने ठाउँमा समेत प्रतिनिधिहरुको खासै चासो देखिँदैन। न त राम्रोसँग फोहोर व्यवस्थापन भएका छ, न त सडकका खाल्डाखुल्डी नै पुरिन थालेका छन्। न पार्किङको बन्दोबस्त छ, न त उपत्यका सरसफाईको काम भएको छ।, एक महिनाको बीचमा काठमाडौंवासीले निर्वाचनताका जनताले राखेका माग र अपेक्षालाई जनप्रतिनिधिहरुले खासै चासो दिएको देखिँदैन। आगामी दिनमा विकास निर्माणले गति लिन्छ वा यत्तिकैमा ५ वर्ष कट्छ त्यो भने हेर्न बाँकी नै छ। तर अब जनता सचेत भइसकेका छन्, अब पनि नेताहरुले जनतालाई झुटो आश्वासनहरु दिइरहने हो भने आगामी दिनमा ठूला राजनीतिक दलहरुको भविष्य धरापमा पर्ने निश्चित छ।, आजको फोटो फिचरमा न्युज एजेन्सी नेपालका फोटो पत्रकारले कैद गरेका अस्तव्यस्त काठमाडौंका यी तस्बिरहरु।, फेरिएका प्रतिनिधि, नफेरिएको काठमाडौं (फोटोफिचर)
सेतोपाटी संवाददाता ट्राफिक प्रहरीले मंसिर महिनामा ६० वटा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) निलम्बनका लागि यातायात व्यवस्था विभाग पठाएको छ।, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ बमोजिम चालकले पालना गर्नुपर्ने सर्त तथा नियम पाँच (५) पटकभन्दा बढी उल्लंघन गरेको पाइएकोले सोही ऐनको परिच्छेद ४ को दफा ६० बमोजिम सवारी चालक अनुमतिपत्र निलम्बनका लागि यातायात व्यवस्था विभाग पठाएको हो।, कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले पाँच पटकभन्दा बढी सवारी नियम उल्लंघन गरेकाले यातायात व्यवस्था ऐन, २०४९ अनुसार कारबाहीका लागि यातायात व्यवस्था विभाग पठाइएको जानकारी दिए।, उनका अनुसार सबैभन्दा धेरै कारबाही पर्नेमा एक जना ४४ पटक त्यसपछि क्रमशः एक जना ३५ पटक, तीन जना २४ पटक, एक जना १४ पटक, सात जना १२ पटक, दुई जना सात पटक, र ४५ जना छ पटक पक्राउ परेका सवारी चालक रहेका छन्।, ट्राफिक नियम उल्लंघन गरिरहने चालकबाट नै सवारी दुर्घटना बढी हुने गरेको सो कार्यालयले जनाएको छ। , ६० वटा लाइसेन्स निलम्बन गर्न ट्राफिकले पठायो यातायात विभाग
सेतोपाटी फोटो टिम सेतोपाटी फोटो टिमले देशको राजनीति, समाज, कला, खेलकुद, घुमफिरलगायत क्षेत्रबाट छानिएका तस्बिरहरूको संगालो ‘यो साताका क्लिक’ मा प्रस्तुत गरेको छ।, आजको शृंखलामा हामीले मंसिर २४ देखि मंसिर २९ गतेसम्म खिचिएका केही महत्वपूर्ण तस्बिर समेटेका छौं।, हेर्नुहोस् तस्बिरहरू, लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका (देउखुरी)दाङमा मुख्यमन्त्री कार्यालय उद्घाटन कार्यक्रममा प्रदेश प्रमुख अमिक शेरचन, मुख्यमन्त्री कुलप्रसाद केसीलाई लगाइदिन राखिएको बीस/बीस किलोको माला। तस्बिरः नारायण खड्का/सेतोपाटी, दाङको एक पहाडी गाउँपालिका बंगालाचुलीबाट घोराहीतर्फ गुडिरहेको बस। पिच नभएकाले सडक धुलाम्मे बनेको छ। तस्बिर:नारायण खड्का/सेतोपाटी।, प्यूठान र रोल्पा जिल्लासँग सीमाना जोडिएको दाङको पहाडी गाउँपालिका वडा नं. ५ मा देखिएका केही घर र पृष्ठ भूमिका देखिएका हिमश्रृंखला। तस्बिर: नारायण खड्का/सेतोपाटी ।, ललितपुर महानगर स्थापनाको १०४ औं वर्ष प्रवेशको अवसरमा शुक्रबार जावलाखेल मैदानमा भएको महानगरका जनप्रतिनिधि र कर्मचारीबीच फुटबल प्रतियोगितामा बल अगाडि बढाउँदै ललितपुर महानगरका मेयर चिरीबाबु महर्जन। तस्बिरः निशा भण्डारी/सेतोपाटी, काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएपछि बलिउड अभिनेता विवेक ओवराय। यतिबेला उनी स-परिवारसहित नेपाल भ्रमणमा छन्। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी, काठमाडौं महानगरपालिकाको स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा साँस्कृतिक नृत्य प्रस्तुत गर्दै कलाकार। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी, लमजुङको राइनासकोट गाउँमा रहेको एक मौलिक घुमाउने घर। यस्ता घर लोपोन्मुख अवस्थामा छ। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी, कास्कीको ल्वाङ गाउँमा रहेको अन्नपूर्ण चियाबारीमा घुम्न आएका अन्तरिक पर्यटक माछापुच्छ्रेको काखमा तस्बिर खिचाउँदै। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी, गत सोमबार काठमाडौंको लैनचौरस्थित मूलसडकमै मेलम्चीको पानी फुटेपछि हिलाम्मे बनेको सडक। सडक हिलाम्मे बनेपछि सवारी आवागमन समेत प्रभावित बनेको थियो। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी, काठमाडौंको घण्टाघर वरपर देखिएको सवारी जाम। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी, लमजुङको राइनासकोट होमस्टेसँगै देखिएको विभिन्न मनोरम हिमश्रृंखला। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी, काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गसँगै देखिएको हिमश्रृंखलाहरू। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी, साताका क्लिक
डा.अमृता श्रेष्ठ सामान्यतया कपाल फुल्नु (सेतो हुनु) लाई बुढ्यौली लागेको उपमा दिइने गरिन्छ। तर कपाल फुल्नेबित्तिकै बुढ्यौली नै लागेको भन्नु चाहिँ सही हुँदैन। आजभोलि कम उमेरमै कपाल फुल्नु धेरै नेपालीको साझा समस्या बनेको छ। , उमेर पुगेपछि कपाल फुल्नु स्वभाविक भए पनि कम उमेरमै कपाल फुल्ने समस्याले धेरैलाई सताउने गरेको छ। , सानै उमेरमै कपाल फुल्ने समस्याले धेरैलाई चिन्तित बनाएको हुन्छ। कम उमेरमै कपाल फुल्‍यो भने कस्तो बुढो जस्तै देखिएको भनेर जिस्काउने पनि छन्। यसले कपाल फुल्दा निराशापन समेत बढ्ने गरेको छ। कपाल फुल्दा कतिपयले थरीथरीका मेहन्दी कपालमा लगाउने गर्छन्।, कपाल फुल्नुको मुख्य कारण वंशाणुगत हो। आइरन, क्याल्सियम,भिटामिन डी, भिटामिन बी-१२ को कमीले गर्दा समेत कपाल फुल्छ। , कपालमा कालोपना आउने तत्वको कमीले कपाल फुल्ने समस्या हुन्छ। यसको औषधि त छ। तर पुरै निर्मुल हुनेगरी उपचार गर्न कठिन हुन्छ।, कपाल झर्ने समस्या विभिन्न कारणले हुन्छ। यसको आन्तरिक र बाह्य कारण दुवै हुन्छ। खानामा पौष्टिक तत्वको कमी, आइरनको कमी लगायतले यो समस्या हुन्छ। त्यस्तै डेंगी, कोभिड र टाइफाइडलगायतका रोग लागेको तीन महिनापछि कपाल झर्ने समस्या हुन्छ।, त्यस्तै थाइराइडको कारणले समेत कपाल झर्छ। भिटामीन डी, भिटामीन बी-१२ को कमीले गर्दा पनि कपाल झर्छ। बच्चा जन्मिएपछि पनि कतिपयमा कपाल झर्ने समस्या हुन्छ।, ज्वरोका कारणले कपाल झरेको छ भने त्यो विस्तारै ठीक हुन्छ। यो बाहेकका समस्याले कपाल झरेको छ भने त्यसको कारण पत्ता लगाएर उपचार गर्न सकिन्छ।, हिजोआज कपाल प्रत्यारोपण गर्न पनि सहज हुँदै गएको छ। अगाडिको भागको मात्रै कपाल गएको छ भने पनि प्रत्यारोपण गर्न सकिन्छ। अहिले त आँखीभौं समेत प्रत्यारोपण गर्न सकिन्छ।, कपाल झर्ने समस्या किन हुन्छ, यसको उपचार कसरी गर्ने, कपाल फुल्ने समस्या र यसको उपचार लगायतका विषयमा हामीले शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा कार्यरत छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अमृता श्रेष्ठसँग भिडिओ कुराकानी गरेका छौं।, हेर्नुहोस् भिडिओ, कपाल झर्ने र फुल्ने समस्या किन हुन्छ, कसरी जोगाउने? (भिडिओ)
सेतोपाटी संवाददाता बैतडीमा २१ वर्षीया माया लुहारको हत्या गरेको घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको छ। , अनुसन्धान सकेर सोमबार जिल्ला अदालत बैतडीमा प्रतिवेदन बुझाउने तयारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए। , ‘पर्सीसम्म प्रतिवेदन पुरा गरेर अदालतमा पठाउछौं, घाइतेको घटना विवरण कागज प्राप्त भएपछि अनुसन्धान पुरा हुन्छ,’ उनले भने।, गत मंसिर १४ गते शिवनाथ गाउँपालिका–६ नेपाल टेलिकमको टावर नजिकै रहेको जंलमा २१ वर्षीय माया लुहार मृत अवस्थामा फेला परेकी थिइन्। उनको घाँटी रेटिएको अवस्थामा शव फेला परेको थियो। , त्यस्तै सोही ठाउँकी १५ वर्षीया नेहा लुहार पनि घाइते अवस्थामा फेला परेकी थिइन्। उनको पनि घाँटीमै रेटिएको अवस्थामा घाइते फेला परेकी थिइन्। , मृतक र घाइते दुवै पञ्चेश्वर गाउँपालिका–४ शैलेडाका हुन्। उनीहरू १३ गते बिहान १० बजे घरबाट लुगा सिलाउन जाने भन्दै निस्केका थिए। सो दिन घर उनीहरू घर नफर्केपछि परिवारले खोजतलासी सुरू गरेको थियो। , यसमा सशस्त्र प्रहरीका जवान भरत कोलीको संलग्नता देखिएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो। , सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक पुरूषोत्तम थापाका अनुसार हत्या आरोपित भरत कोलीलाई निलम्बन गरिएको छ। , प्रहरीले पक्राउ गरेकै दिनबाट लागु हुनेगरी उनलाई निलम्बन गरिएको उनले जानकारी दिए। , अदालतले फैसला गरेअनुसार निलम्बनपछि उनलाई बर्खास्त गरिनेछ। हाल यस घटनाको अनुसन्धान जारी नै छ। , बैतडीकी माया लुहारको हत्याको अनुसन्धान अन्तिम चरणमा, सोमबार प्रतिवेदन बुझाउने
सेतोपाटी संवाददाता रामेछापमा गाडी दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। , उमाकुण्ड गाउँपालिका-७ एकराते छागा स्थित दुरागाउँबाट भुजितर्फ जाँदै गरेको बोलेरो गाडी दुर्घटना हुँदा ९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ।  , शनिबार दिउँसो पौने १२ बजे बा ११ च ७५९१ नम्बरको गाडी आफैं अनियन्त्रित भई सडकबाट ५० मिटर तल खसेर दुर्घटना भएको हो। , दुर्घटनामा घाइते भएका तीन जनालाई अन्नपूर्ण हेलिकप्टरमार्फत काठमाडौं ल्याएको छ। , लिखुतामाकोशी गाउँपालिका-१ कोटेगाउँकी ३२ वर्षीया बिमला सुनुवार, चालक ३९ वर्षीय विमल सुनुवार र ३४ वर्षीय राजन भन्ने राजकुमार थापालाई काठमाडौं ल्याइएको हो। , बिमला र विमलको टाउकोमा गम्भीर चोट लागेको छ। यता राजनको खुट्टामा सामान्य चोट लागेको प्रहरीले जनाएको छ।, अरूको उपचारको लागि मन्थली अस्पताल पठाइएको छ। , रामेछापमा गाडी दुर्घटना हुँदा ९ घाइते, हेलिकप्टरबाट तीन जनालाई ल्याइयो काठमाडौं
युनिक श्रेष्ठ काठमाडौंमा ९० वर्षीया वृद्धाको हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। , तार्केश्वर नगरपालिका-६ पुशलकी ९० वर्षीया डिल्ली पुतुवारको हत्या गरेको आरोपमा एक जना पुरूषलाई प्रहरीले पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए।, पक्राउ पर्नेमा तार्केश्वर-६ कै ३९ वर्षीय नरेन्द्र शिवभक्ति छन्। उनलाई कार्यालयका डिएसपी गोविन्द पन्थी नेतृत्वको टोलीले गत बिहीबार पक्राउ गरेको हो। , ती वृद्धाले राम्ररी आँखा पनि देख्थिनन्। उनी लाठी टेकेर हिँड्थिन्। , उनका एक छोरा र चार छोरी छन्। उनीहरू आमासँगै बस्दैनन्। एक जना छोरी भने ५० मिटर परको अर्कै घरमा बस्थिन्। ९० वर्षीया वृद्धा डिल्ली गत मंसिर २० गतेदेखि हराइरहेकी थिइन्। उनी हराएको भन्दै नजिकै बस्ने छोरीले प्रहरीलाई खबर गरेकी थिइन्।, प्रहरी वृत्त बालाजुमा निवेदन दिएपछि ती वृद्धाको खोजी भइरहेको थियो।, खबर गरेको दुई दिनपछि तार्केश्वर नगरपालिका-३ पारिवन पाखा सामुदायिक वनको खोल्सामा उनको शव फेला पर्यो। घरबाट अन्दाजी ५०० मिटर टाढा रहेको जंगलमा उनको शव फेला परेको हो। , शव फेला परेपछि प्रहरी वृत्त बालाजु र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली घटनास्थलमा पुगेको थियो।डिल्ली पुतुवारको टाउको, मुखमा चोट लागेको थियो। बाहिरी चोटपटक नदेखिए पनि जंगली जनावरले खाएकोजस्तो पनि देखिन्थ्यो।, शवको पोष्टमर्टम गर्नको लागि महाराजगन्जस्थित टिचिङ अस्पताल लगिएको थियो। पोष्टमर्टमबाट पनि उनको मृत्यु टाउकोमा केहीले प्रहार गर्नाले भएको भन्ने खुल्यो। चिकित्सकले उनको मृत्यु टाउकोमा ‘ब्लन्ट फोर्स’बाट भएको भनेका थिए। , त्यस्तै उनको दाहिने गालाको केही भाग जनावरले पनि खाएको पुष्टि भयो। , घटनास्थलमा घिसारिएको पनि देखिएको हुँदा ती वृद्धाको हत्या नै हो भन्नेमा प्रहरी अधिकारीहरू विश्वस्त भइसकेका थिए। त्यसैले हत्या नै हो भन्ने हिसाबले प्रहरीले अनुसन्धान अघि बढायो। , एक्लै बस्ने हुँदा कतै नजिकका आफन्तबाटै पो हत्या भएको हो कि भन्ने शंका प्रहरीलाई थियो। , सम्पत्तिका लागि उनको हत्या भएको हुनसक्ने भन्ने प्रहरीको अनुमान थियो। तर प्रहरीले अनुसन्धानको क्रममा नजिकैको छिमेकी परिवार गायब भएको थाहा पायो। , ती थिए नरेन्द्र शिवभक्ति, उनकी श्रीमती र छोरा।, ‘शव फेला परेको दिन त्यहाँ भएका सबैजसो गाउँले शव हेर्न भनेर जंगलतिर लागे। तर नरेन्द्र चाहिँ ससुराली गएका रहेछन्,’ डिएसपी गोविन्द पन्थीले भने,‘यस घटनामा प्राविधिक रूपमा हेर्न सकिने अवस्था थिएन। तर उनी शव फेला परेकै बेलामा ससुराली हिँडेपछि हामीलाई शंका भयो।’, मृतक डिल्ली पुतुवारको भन्दा दुई सय मिटर पर उनको घर छ। छिमेकीकै हत्या हुँदा पनि उनी परिवार समेतलाई लिएर ससुराली हिँडेको थाहा पाएपछि प्रहरीले उनको खोजी गर्न थाल्यो। , प्रहरीका अनुसार उनको ससुराली स्याङ्जा हो। हत्याका सम्भावित आरोपी त्यहाँ हुनसक्ने भन्दै जिल्ला प्रहरी कार्यालय स्याङ्जालाई पनि यसबारे जानकारी गराइएको थियो। , ज्याला-मजदुरी गर्ने उनले आफ्ना सासु, ससुरा, साली लगायतलाई कपडा समेत किनेर दिएको अनुसन्धानबाट खुलेको छ। त्यसरी ससुराली पुगेका उनलाई प्रहरीले निगरानीकै बीच सम्पर्क गर्‍यो। , प्रहरीले फकाएपछि उनी काठमाडौं आउन तयार भएका थिए। काठमाडौं आउँदा पनि उनी ट्याक्सी चढेर आएको डिएसपी पन्थीले बताए। यति मात्रै होइन उधारो लिएर लामो समयसम्म पनि नतिरेपछि पसलेले माग्नै छाडिसकेको ठाउँमा समेत पुगेर उनले ५०० रुपैयाँ तिरेका थिए।, यसरी आम्दानीभन्दा पनि बढी खर्च गरेपछि उनीमाथि झन् शंका बढ्यो। , गत बिहीबार काठमाडौं आइपुगेका उनलाई टोलीले पक्राउ गरी सोधपुछ गर्दा भने हत्याबारे स्वीकारेको डिएसपी पन्थीले बताए। , उनका अनुसार मृतक वृद्धाले चिसापनी चप्पल कारखानामा राहत दिइराखेको भन्ने जानकारी पाएकी थिइन्। जानकारी पाएपछि उनले आफूलाई राहत वितरण भइरहेको ठाउँमा पुर्‍याइदिन भनेर शिवभक्तिलाई भनेका थिए। , ‘राहत दिइराखेको छ भनेपछि मलाई त्यहाँ लगिदेऊ, राहत घरसम्म तिमी ल्याइदेऊ म पैसा दिन्छु भनेकी थिइन्,’ शिवभक्तिले प्रहरीलाई भनेका छन्, ‘त्यसपछि मैले जंगलको बाटोबाट डोहोर्‍याउँदै लगेँ।’, उनीहरू दुबै जना जंगलको बाटो हुँदै सिधै चप्पल कारखानासम्म पुगेनन्। बरू जंगलको बीचतिर पुगेपछि त्यही केहीबेर बसे। , त्यहाँ बसेर चुरोट खाऔं भनेपछि उनीहरू दुबैले चुरोट समेत खाएको देखिन्छ। , त्यही बेलामा आरोपित शिवभक्तिले हत्या गर्ने सोच बनाएको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार ती वृद्धाले जे-जति भएको पैसा सधैं कम्मरको पटुकीमा राख्थिन्। , पैसा लुट्नकै लागि उनले हत्या गरेको शिवभक्तिले प्रहरीसँग भनेका छन्। , नजिकै भएको ढुंगा लिएर डिल्ली पुतुवारको टाउको र गर्धनमा हिर्काएर हत्या गरेको डिएसपी गोविन्द पन्थीले बताए। , त्यसपछि उनले पटुकीमा भएको अन्दाजी ४५-५० हजार रुपैयाँ लिएर शवलाई खोल्सामा लुकाएर घर फर्किएका थिए। , ‘ती वृद्धाले सधैं पैसा पटुकीमै राख्ने रहेछिन्। त्यसबाट उनले  ५० हजार रकम मात्रै लिएको भनेका छन्। तर मृतकका परिवारले एक डेढ लाख हुनसक्ने भनेका छन्,’ उनले भने, ‘वृद्धाले आफूसँग भएको रकम पनि खासै खर्च नगरी मागेर खाने गरेको पनि देखिन्छ।’ , प्रहरीका अनुसार अहिलेसम्म यस घटनामा उनको मात्रै संलग्नता देखिएको छ। यसबारेमा थप अनुसन्धान पछि अरू कुरा खुल्दै जाने उनले बताए।, यसको थप अनुसन्धान प्रहरी वृत्त बालाजुले गर्दैछ।, तार्केश्वरमा ९० वर्षीया वृद्धा हत्या घटना: हत्यापछि परिवारसहित ससुराली भागेका थिए आरोपी
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले डोटीका भूकम्प पीडितलाई १० लाख सहयोग प्रदान गरेको छ।, महानगरले विपद व्यवस्‍थापन अन्तर्गतको बजेटबाट १० लाख रुपैयाँ सहयोग गरेको हो। , कात्तिक २३ गते गएको भूकम्पले त्रिपालमा रात काट्न बाध्य भएपछि सहयोग माग्दै पीडितहरू महानगरपालिकाका प्रमुख बालेन शाहसँग भेट्न गएका थिए। यसरी पीडितहरू भेट्न आएपछि महानगरले आर्थिक सहयोग गरेको हो। , ‘महानगरको विपद व्यवस्थापन अन्तर्गतको बजेटबाट १० लाख रुपैयाँ सहयोग गाउँपालिकालाई गरेका थियौं। यो भन्दा धेरै गर्न हाम्रा आफ्नै सीमाहरू छन्,’ उनले भनेका छन्। , यसरी सहयोग गरेकोबारे उनले सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन्। , डोटीमा कात्तिक २३ गते गएको ६.६ रेक्टर स्केलको भूकम्पले ३८ सय घर-टहरा भत्काएको स्थानीय गाउँपालिकाको तथ्यांक छ।, परालको टहरा बनाएर बसेको स्थानमा चितुवा आक्रमणमा मान्छेको मृत्यु भएको कुरा पीडितले शाहलाई भनेका थिए।, ‘चितुवाको डर छदैछ, त्यसमाथि पुस महिनाको जाडो बढेको छ। हिउँ पर्न सुरू भए थप समस्या आउने देखिन्छ,’ पिडितहरूले  शाहसँग भनेका थिए।, राज्य संयन्त्र, सम्बन्धित मन्त्रालय, सांसद, सरकारी तथा गैरसरकारी स‌ंस्था लगायतले पनि पीडितहरूलाई सहयोग गर्न शाहले अनुरोध गरेका छन्।, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको टोली आउने भनेपनि भूकम्प गएको लामो समय बित्दा पनि नआएको पीडितको गुनासो छ। प्राधिकरणको टोली छिटो आउने भन्दै पटकपटक ढाँटेको पीडितहरूले आरोप लगाएका छन्। उनीहरूले घर पुनर्निर्माण छिटो गर्नुपर्ने माग राखेका छन्। , ९ सय ६३ जना भूकम्प पीडित चिसो शित-लहरमा त्रिपालमा कठ्यांग्रिएर बस्न बाध्य छन्।, आंशिक तथा पूर्णरूपमा घर क्षति भएकाहरू नेपाल रेडक्रस, गाउँपालिका तथा विभिन्न संघ-संस्थाको सहयोगमा पाएका त्रिपालमुनि बसिरहेका छन्।, पूर्वीचौकी गाउँपालिका रोजगार शाखाका प्रमुख हरिभक्त साउँदका अनुसार केन्द्रबाट राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणको टोली आएपछि भूकम्प प्रभावितहरूको दीर्घकालीन व्यवस्थाबारे काम हुनेछ।, उनले गाउँपालिकाबाट भूकम्प प्रभावितहरूको सम्पूर्ण विवरण संकलन गरेर तयार अवस्थामा राखेको तर केन्द्रबाट प्राधिकरणको टोली अहिलेसम्म नआएको बताए।, उनले टोली आएपछि गाउँपालिकाबाट पनि हुने थप सहयोगका काम अगाडि बढ्ने बताए।, डोटी भूकम्प पीडितलाई काठमाडौं महानगरको १० लाख सहयोग
मन्दिरा घिमिरे काठमाडौं महानगरपालिकाले सेवाग्राहीलाई डिजिटल सुविधा दिने उद्देश्यले नयाँ एप्स लन्च गरेको छ।, केही सानो काम पर्दा पनि वडामै धाउन पर्ने प्रणालीको अन्त्य गर्ने उद्देश्यले काठमाडौं महानगरपालिका डिजिटल सुशासन एप्स ‘काठमाडौं मेट्रोपोलिटन’ लन्च गरेको महानगरपालिकाका सूचना प्रविधि विभाग प्रमुख नवराज ढकालले जानकारी दिए।, उनका अनुसार यस एप्समार्फत् वडाबासीहरूले वडामा नगई जुनसुकै सिफारिस डिजिटल रूपमा लिन सक्ने छन्।, ‘अब वडाबासीहरूले सिफारिस लिन वडामा धाउन पर्दैन,’ उनले भने, ‘यो एप्समार्फत् सेवाग्राहीलाई जुन सिफारिस चाहिएको हो, उहाँहरूले त्यसको लागि आफैंले निवेदन दिन सक्नुहुनेछ।’, एप्समा फारम भर्दा जुन सिफारिसका लागि निवेदन भरिएको हो, त्यसका लागि आवश्यक सबै कागजपत्र अपलोड गर्नुपर्छ। त्यसपछि उक्त निवेदन वडाध्यक्ष र वडा सचिवको पुगी उनीहरूले भेरिफाइ गरी चेकजाँच गर्नेछन्।, यदि कुनै कागजपत्र नपुगेको खण्डमा अपुग कागजात हाल्न नोटिफिकेसन आउने उनले बताए।, यस्तै, आफूले निवेदन दिएपछि उक्त कागजात निवेदन के कस्तो भइरहेको छ भनेर पनि उनीहरूले एप्सबाटै थाहा पाउन सक्नेछन्। कागजजात सबै मिलेपछि लाग्ने शुल्क तिर्न भनिने र तिरेपछि निवेदकको सिफारिस पाउने उनले बताए।, यसरी काम गर्दा कागजात नमिलेको र कागजातकै कारण वडामा धाउन पर्ने काम कम हुने उनी बताउँछन्।, महानगरले हाललाई ई-सिफारिसको सुविधा ३२ वटा वडामा सुरू गरेको जनाएको छ। बुधबार महानगरले ‌२८ औं महानगर दिवसको अवसरमा उक्त एप लन्च गरेको थियो।, अधिकारी ढकालका अनुसार सबै सिफारिस डिजिटल सिक्नेचरसहित प्रदान गरिने छ। तर भौतिक रूपमा नै उपस्थित नभई नहुने सिफारिसहरूमा भने यो लागू नहुने उनी बताउँछन्। , ‘सबै सिफारिस दिन भने मिल्दैन,’ उनले भने, ‘जुन सिफारिसका लागि भौतिक रूपमा उपस्थित हुन आवश्यकता छैन त्यस्ता मात्र दिइनेछ। जस्तै विवाह दर्ताको लागि उपस्थित हुनैपर्ने हुन्छ। त्यस्ता व्यक्ति स्वयं उपस्थिति हुनुपर्नेमा भने लागू हुँदैन।’, तर पेस गरेको कुनै कागजातप्रति शंका लाग्दा भने निवेदकलाई बोलाउने उनले बताए।, नागरिकलाई सहजै डिजिटल सुविधा दिने उद्देश्यले स्मार्ट पालिका अन्तरगत ई-सिफारिस प्रणाली ल्याइएको स्मार्ट पालिकाका सिइओ मनोज भट्टराईले जानकारी दिए।, उनका अनुसार नेपाललाई पनि डिजिटल रूपमा अघि बढाउने उद्देश्यका साथ स्मार्ट पालिकाको सुरूआत भएको थियो। , स्मार्ट पालिकाले यो सफ्टवेयर छ वर्षअघि नै बनाएको थियो। तर पाँच वर्षदेखि साना गाउँपालिकाहरूमा काम गरिरहेको उनले बताए। , ठूला नगरपालिकाहरूमा सञ्चालनमा ल्याउने उद्देश्य भएता पनि आफूहरूले गरेको काम सफल हुन सक्छ कि सक्दैन भनी पहिले बाहिर परीक्षण गरेको उनी बताउँछन्।, ‘हाम्रो मुख्य उद्देश्य भनेको डिजिटल सुविधा विस्तार गर्ने नै हो,’ उनले भने, ‘हामी आफैं पनि सिक्दै थियौं। कसरी गर्ने कुनै तरिका थाहा थिएन। जानेको/बुझेको गरिरहेका थियौं। कसैबाट सिक्न सक्ने स्थिति पनि थिएन। किनकि हामीलाई थाहा भए अनुरूप यसरी काम गर्ने हामी नै पहिलो हौं।’, पालिकाहरूलाई डिजिटल सुविधा दिने प्रणाली बसाल्न हालसम्म १४३ पालिकामा परीक्षण भइसकेको उनले बताए। तीमध्ये पनि स्याङ्जाको वालिङ नगरपालिका र कास्कीको रूपा गाउँपालिकामा भने परीक्षण सफल भएको उनको दाबी छ।, ‘हामीले नेपालका विभिन्न ठाउँहरूमा काम गर्यौं,’ उनले भने, ‘तर हामी वालिङ र रूपा पालिकामा भने पूर्ण रूपमा सफल भयौं।’, त्यहाँ उनीहरूले नगरबासीको सिफारिसदेखि लिएर पञ्जीकरण गरी सबैको डिजिटल प्रोफाइल राख्ने लगायतका काम गरेको उनले बताए। , स्मार्ट पालिका चलाउनका लागि दुइटा एप्लिकेसन छ।, एउटा भनेको मोबाइल एप्स र अर्को इआरपी। मोबाइल एप्स सेवाग्राहीको लागि बनाइएको हो भने इआरपी सेवाकर्ताका लागि। दुवैको छुट्टै खाता हुने उनले बताए। , इआरपी साइटमा विभागीय प्रमुख वा सम्बन्धित निकायको मात्र पहुँच हुनेछ। जसबाट उनीहरूले सेवा प्रदान गर्न सक्नेछन्। यस्तै के कस्ता कामहरू वडामा भइरहेको छ भनी महानगर प्रमुखले सोही वेबसाइटबाट हेर्न सक्ने उनले बताए। , विभिन्न विभागमा समन्वयनको समस्या भएको समेत उनी बताउँछन्। , ‘काठमाडौं महानगरपालिकाभित्र पनि विभिन्न विभाग रहेको छ,’ उनले भने, ‘एउटा विभागभित्र भएको काम अर्को विभागलाई थाहा नहुने स्थिति छ। त्यसैले उक्त एप्सले एउटा विभागबाट अर्को विभागसँग समन्वयन गर्ने भूमिका पनि खेल्नेछ।’, अहिले ई-सिफारिस मात्र सञ्चालनमा आएता पनि पछि महानगरले समन्वयन गरेको खण्डमा अन्य सफ्टवेयर पनि लिंकब्याक गरेर एउटै एप्सबाट सुविधा दिन सकिने उनले बताए।, यस एप्स प्रयोग गर्न एकपटक खाता खोल्नुपर्ने हुन्छ। एकपटक खाता खोलेपछि युजर नेम र पासवर्ड पाइने सिइओ भट्टाराई बताउँछन्। उक्त युजरनेम हालेपछि नै खाता प्रयोग गर्न सकिने उनको भनाइ छ। , अहिले उक्त सेवासुविधा दिन वडामा सेवा दिने व्यक्तिहरूलाई समेत ट्रेनिङ दिइएको छ। यस्तै, सेवा प्रदान गर्न वडाध्यक्षलाई एउटा ट्याबलेट समेत दिइएको छ।, यसरी डिजिटल काम गर्दा समयको बचत हुनुका साथै छिटो काम हुने र डिजिटल अभिलेखीकरण पनि हुने उनको भनाइ छ। यसै एप्समार्फत् भविष्यमा महानगरको डिजिटल प्रोफाइलिङ समेत गर्न सकिने उनले बताए। , अहिले एक महिने परीक्षणकालीनमा नेपाली र अंग्रेजी भाषा मात्र प्रयोग गरिएको उनले बताए। विस्तारै नेवारी, मैथली, थारू, भोजपुरीलगायत भाषामा उक्त एप्स चलाउन सकिने उनले जानकारी दिए। , भट्टराईका अनुसार यो एप्स अहिलेलाई एन्ड्रोइडमा मात्र उपलब्ध छ। आइओएसका लागि प्रक्रिया अघि बढेको उनले बताए। ,  , के हो महानगरले ल्याएको 'काठमाडौं मेट्रोपोलिटन'?
सेतोपाटी संवाददाता बुटवलमा एक जना पुरूषको हत्या गरेको आरोपमा सात जना पक्राउ परेका छन्। , शुक्रबार साँझ प्रहरीले हत्या आरोपमा सात जनालाई पक्राउ गरेको हो। बुटवल उपमहानगरपालिका-९ बस्ने भारत घर भएका ५५ वर्षीय अजय सोनीको हत्या भएको हो। , उनको चक्कु प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ। उनको हत्या गरेको आरोपमा प्रहरीले बुटवल-८ राजमार्ग चौराहमा मागी खाइ हिँड्ने २९ वर्षीय कृष्ण सिजाली मगर लगायत सात जनालाई पक्राउ गरेको हो। , आफ्नो ठेलामा रहेको बदाम र चकलेट उनीहरूले चोरी गरी लगेको भन्दै सामान फिर्ता माग्न जाँदा अजयलाई चक्कु प्रहार गरी गम्भीर घाइते बनाएका थिए। , उक्त खबर पाएपछि वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले घाइतेलाई उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटबल पठाएको थियो। त्यहीँ उपचारको क्रममा मृत्यु भएको थियो।, यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।, बुटवलमा चक्कु प्रहार गरी हत्या गरेको आरोपमा ७ जना पक्राउ
सेतोपाटी संवाददाता पत्रकार महासंघ कैलालीले सदस्यता लिएर पेशागत रुपमा सक्रिय नरहेका पत्रकारलाई हटाउने भएको छ। , शनिबार धनगढीमा सम्पन्न भएको साधारण सभाबाट सदस्यता शुद्धिकरण गर्ने निर्णय गरिएको हो।, असहज परिस्थितिमा महासंघलाई सहयोग गर्ने कतिपय सदस्यलाई स-सम्मान विदाइ गर्ने, केहीलाई मानार्थ सदस्यता दिने र केहीको सदस्यता नै निष्क्रिय पार्ने विषयमा शाखामा छलफल भइरहेको छ।, यस्तै पत्रकारहरूले आचारसंहिता पालना गर्नुपर्ने र आचरण सुधारका गर्न पहल गर्ने निर्णय पनि गरिएको पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमालय जोशीले जानकारी दिए।, यस्तै संख्यामा न्यून रहेका महिला पत्रकारलाई स्थापित गर्न नीति बनाएर अगाडि बढ्ने निर्णय गरिएको उनले बताए।, साधारण सभाबाटै शाखाले स्थानीय तह र प्रदेश सरकारले निर्माण गर्ने सञ्चार नीतिका पत्रकार मैत्री बनाउन वकालत गर्ने निर्णय भएको छ।, पत्रकार महासंघ कैलालीले सदस्यता लिएर पेशागत रूपमा सक्रिय नरहेका पत्रकारलाई हटाउने
सेतोपाटी संवाददाता जंगली हात्तीको आक्रमणबाट चितवनका एक वृद्धाको मृत्यु भएको छ।, भरतपुर महानगरपालिका वडा नम्बर २८ अन्द्रौली मेघौलीकी ७० वर्षीया भागिरथी सुवेदीको हात्तीको आक्रमणबाट मृत्यु भएको हो।, शनिबार बेलुकी साढे ८ बजेतिर आँगनमा आगो तापिरहेकी सुवेदीलाई हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए।, उनको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उनले बताए।, आँगनमा आगो तापिरहेकी वृद्धाको जंगली हात्तीको आक्रमणबाट मृत्यु
रासस बाँकेको कोहलपुरमा गए राति पिकअप भ्यानको ठक्करबाट महिलाको मृत्यु भएको छ।, नेपालगञ्जबाट कोहलपुरतर्फ जाँदै गरेको बा १ ञ २४३८ नम्बरको पिकप भ्यानले ठक्कर दिँदा कोहलपुर नगरपालिका–११ निवासी उषा गुरुङको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्लले बताए।, उनकाअनुसार भ्यानको ठक्करले गुरुङको घटनास्थलमै मृत्यु भएको थियो।, ठक्कर दिएर भागेको भ्यानलाई गए राति नै प्रहरीले नियन्त्रणमा लिएको छ।, ठक्कर दिने भ्यान नेपाल विद्युत् प्राधिकरण कोहलपुरको रहेको प्रहरी नायब उपरीक्षक मल्लले बताए।, विद्युत प्राधिकरणको भ्यानको ठक्करबाट बाँकेमा महिलाको मृत्यु
रासस गुल्मीको मुसिकोट नगरपालिका–२ की विपना महत २० वर्षकी भइन्।, यो उमेरमा कैयौँलाई आफ्ना रहर पूरा गर्न पनि आमाबुवासँग पैसा माग्नुपर्ने बाध्यता हुन्छ। यही उमेरका युवायुवती भर्खरै सहर छिरेर रोजगार खोज्दै भौँतारिरहेका छन्।, उनले तम्घासमा चिया बेचेरै मासिक रु ९० हजार कमाउँदै आएकी छन्। बिहान ६ देखि साँझ ७ बजेसम्म तम्घास बजारमा डुलेर चिया बेच्ने विपनाले दैनिक दुई सय कप चिया बेच्छिन्। बजारमा चियाको मूल्य रु २५ भए पनि विपनाले एक कप चिया रु २० का दरले बेच्ने गरेकी छन्।, ‘चिया बेचेर दैनिक रु तीन हजारका दरले मासिक रु ९० हजार कमाइ हुन्छ। घरखर्च सबै कटाएर रु ६० हजार बचत गर्दै आएकी छु,’ उनले भनिन्।, विपनाले दैनिक रु चारदेखि पाँच हजारसम्म कमाइ गरे पनि मासिकरूपमा औसत कमाइ रु तीन हजार भएको बताइन्। माध्यमिक शिक्षा परीक्षा (एसइई) पछि उनी पढ्नका लागि तम्घास आएकी हुन्।, उनले रेसुङ्गा बहुमुखी क्याम्पसबाट ‘प्लस टु’ सकेकी छन्। उनको सोच जागिरभन्दा पनि आफैँले केही गरौँ भन्ने भयो। यसपछि चिसो तम्घासमा तातो चिया बेच्ने सुरुआत गरिन्।, चिया पकाउने थर्मसमा राख्ने र बजार डुलेर चिया बेच्ने उनले बताइन्। तम्घास बजारमा डुल्दा चिया अधिकतम मात्रामा बिक्री भएर आम्दानी हुन थालेपछि विगत एक वर्षदेखि उनले निरन्तर चिया बेचिरहेकी छन्। अनुभव सङ्गाल्ने भनेर चिया बेच्न सुरु गरेको उनले बताइन्।, ‘अनुभव हुन्छ भनेर बजारमा चिया बेच्दा फाइदा हुन थाल्यो अनि निरन्तरा दिएँ। मलाई लाज र डर भन्ने त कहिल्यै कसैसँग लागेन’, उनले भनिन्।, तम्घास बजारमै दुई सयभन्दा बढी कप चिया बिक्री भएर मनग्य आम्दानी भएपछि यसैलाई दीर्घकालीनरूपमा निरन्तरता दिने उनको भनाइ छ।, आमाबुवा र आफन्त आफ्नो कर्मबाट खुसी भएको उनले बताइन्।, उनलाई अहिले तम्घासमा हुने सार्वजनिक कार्यक्रममा पनि चिया बेच्न भ्याइनभ्याइ छ। कार्यक्रम आयोजकले आफ्ना पाहुनालाई विपनामार्फत चिया खुवाउने गरेका छन्।, कार्यक्रममा उपस्थितिले विपनाको खुलेर प्रशंसा गर्छन्। उनी उपल्लो तम्घासमा रहेको मामाघरमा बस्दै आएकी छन्।, उनले बिरामी हजुरआमाको हेरचाह पनि गरिरहेको बताइन्।, विपनाका बुवा हरिबहादुर कृषक छन् भने आमा कोपिला गाउँकै विद्यालयमा शिक्षिका छन्।, विपना आफूजस्ता भर्खरैका युवायुवतीलाई आफ्नै गाउँठाउँमा केही रोजगार वा व्यवसाय गर्न सुझाव दिन्छिन्।, उनले केही कामका लागि लजाउने वा डराउने बानी राख्नै नहुने बताइन्। लाज र डरले जिन्दगीमा अगाडि बढ्न नसकिने उनको तर्क छ। विपना अहिले रेसुङ्गा बहुमुखी क्याम्पसमा स्नातक प्रथम वर्षमा पढ्दै छिन्।, क्याम्पस पढ्ने यी विद्यार्थी, चिया बेचेर बचत गर्छिन् ६० हजार
रासस न्यून चापीय प्रणालीको प्रभावले आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा र हिमपात हुने भएको छ।, जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश नम्बर १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश नम्बर १ र गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षा प्रदेश नम्बर १, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।, बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने बताइएको छ। विभागले प्रदेश नम्बर १ र गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षा र प्रदेश नम्बर १, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहने तथा तराईका केही भू–भागमा बिहानीपख हुस्सु–कुहिरो लाग्ने तथा देशका अधिकांश भू–भागमा तापक्रम क्रमिकरूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ।, राति प्रदेश नम्बर १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।, प्रदेश नं १, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम सात दशमलव सात डिग्री र अधिकतम तापक्रम १९ दशमलव दुई डिग्री सेल्सियस रहेको छ।, आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस चार दशमलव एक डिग्री र सबैभन्दा धेरै धरानको अधिकतम तापक्रम २४ दशमलव दुई डिग्री सेल्सियस रहेको छ।, न्यून चापीय प्रणालीको प्रभावः वर्षा र हिमपातको सम्भावना
सबिना श्रेष्ठ बेलायती चित्रकार हेनरी एम्ब्रोस ओल्डफिल्डले सन् १८५५ मा भग्नावशेषमा परिणत कीर्तिपुरको चित्र बनाएका थिए।, जलरङमा बनाएको उक्त चित्रमा ठूटो मात्र बाँकी उमामहेश्वर मन्दिरको स्वरूप अनि भत्किइसकेको दरबारको अवशेष देख्न सकिन्छ। , कीर्तिपुरबारे बताउँदै ओल्डफिल्डले चित्रमा लेखेका छन्- कीर्तिपुर कहिल्यै व्यापक सहर थिएन। तर नेपाल इतिहासको प्रारम्भिक समयमा यो एउटा महत्वपूर्ण सहर थियो। दरबारको भग्नावशेष र केही मन्दिर पश्चिमी भेगमा अवस्थित छन् जसले पूरै सहरलाई निरीक्षण र नियन्त्रण गरेजस्ता देखिन्छन्। यहाँको दरबार ठूलो थिएन तर अहिले यसको स्वरूप र सीमा पत्ता लगाउन गाह्रो छ।, ओल्डफिल्डले उक्त चित्र बनाएको अहिले १६७ वर्ष भइसक्यो। यहाँ मन्दिर र दरबार बनेको झन् धेरै अगाडि हो।, अहिले दरबार क्षेत्रको हिस्सा; तलेजु मन्दिर बनाउन जिल्ला विकास समिति (जिविस) को सहयोगमा कीर्तिपुर नगरपालिका र स्थानीयहरू जुटेका छन्। कीर्तिपुरमा जुन ठाउँमा पहिले दरबार थियो, त्यो ठाउँलाई अझै लायकु भनेर चिनिन्छ।, नेपाल भाषामा लायकुको अर्थ दरबार हो।, त्यो क्षेत्रमा अहिले त्यहाँ स्थानीयका घरहरू बनेका छन्। तलेजु मन्दिर घरहरूकै लहरमा रहेको खाली जग्गामा बन्न लागेको हो।, 'नगरपालिकाले कीर्तिपुरको दरबार इतिहासमा मात्र रहेकाले वडा भवनसहितको नमूना दरबार बनाउन लागेको थियो। त्यो दरबार लायकु क्षेत्रभन्दा बाहिर पर्थ्यो,' स्थानीय एवं लायकु तलेजु सतः अध्ययन समूहका सदस्य श्रीकृष्ण महर्जनले भने, 'हामीले पहिला दरबार भएको ठाउँमै बनाउन प्रस्ताव गरेपछि त्यहाँ बनाउन लागिएको हो।', नगरपालिकाले तीन वर्षअघि दरबारबारे केही सूचना भए नगरपालिकालाई दिन सूचना जारी गरेको थियो। सोहीबमोजिम उनीहरूले ओल्डफिल्डको तस्बिरसहित ऐतिहासिक दस्तावेज र तलेजु बनाउन सयौंको हस्ताक्षर नगरपालिकासामु पेस गरेका थिए। त्यही क्रममा यहाँ लायकु तलेजु सतः अध्ययन समूह बनेको थियो।, यो समूहले अर्को प्रस्ताव पुरातत्व विभागलाई दिएको थियो। प्रस्तावमा तलेजुको मन्दिर मात्र होइन, दरबार सिंगै बनाउन सकिने अवधारणा थियो।, गत वर्ष भदौमा पुरातत्व विभागलाई उनीहरूले लेखेको पत्रमा त्यहाँका घरलाई अन्य ठाउँ व्यवस्थापन गरे दरबार पनि बनाउन सकिने भनेर स्थानीयले सहमति जनाएका थिए।, पत्रमा लेखिएको छ- दरबार क्षेत्रमा रहेकाहरूले यदि दरबार बनाउने हो भने हामीलाई कोलोनी बनाएर व्यवस्थापन गरे पनि हुन्छ भन्ने खालको विचार राखेका छन्।, उनीहरूले दरबारसँगै तलेजु मन्दिर बनाउन पुरातत्व विभागलाई पत्र लेखेको कुरामा विभागले खासै चासो नजनाएको महर्जन बताउँछन्।, त्यसपछि स्थानीयहरू आफैं मिलेर लायकु तलेजु सतः अध्ययन समूह बनाए। यहाँको मन्दिर के–कस्तो होला भन्ने उनीहरूले अध्ययन गरेपछि बनाउन थालिएको उनले बताए।, 'कोलोनी बनाएर व्यवस्थापन गरेर दरबार बनाउने कुरा स्थानीयको सामर्थ्यमा थिएन। तलेजु मन्दिर बनाउन भने हामीले पहल गर्‍यौं,' उनले भने।, यहाँ मन्दिर बनाउनुअघि मन्दिरको कुनै अवशेष बाँकी थिएन। लामो समयदेखि मान्छेहरूले घर निर्माण गर्दा माटो फ्याँक्ने गरेकाले यो ठाउँ 'डम्पिङ साइट' जस्तै बनेको थियो। अहिले पुरानो चित्र हेरेर नाप-नक्सांकन गरिएको हो।, तलेजु मन्दिर तीन तलाको बन्न लागेको छ। त्यहाँ पुराना इँटा र आकर्षक पुराना शैलीका झ्यालहरू निर्माण हुनेछन्। तर मन्दिर बनाउँदा पुरातात्विक मापदण्ड भने पालना गरिएको छैन। त्यहाँ अत्यधिक रूपमा सिमेन्ट र फलामे छड प्रयोग गरिएका छन्। आफूहरूले पुरातात्विक मूल्यमान्यता बुझेको भए पनि त्यसलाई पछ्याएर बनाउन नसकेको महर्जनले स्वीकार गरे।, 'हामीले दरबार क्षेत्र घोषणा गर्न पहल गरेर यो ठाउँको संरक्षण गर्न पुरातत्व विभागलाई भनेका थियौं। तर उनीहरूले वास्ता गरेनन्,' उनले भने, 'पुरानो शैलीमा बनाउँदा निकै महँगो पर्ने भएकाले हामीले आफ्नो बलबुताले जे सक्छौं, त्यही गरेका हौं।', यो भवन मन्दिर मात्र नभई सतः का रूपमा प्रयोगमा आउने उनी बताउँछन्। सतः मा मन्दिरसँगै कीर्तिपुर संग्रहालय र वडाको भवन पनि हुनेछ। अहिलेसम्म वडा भवन निर्माणाधीन यस भवनको ठ्याक्कै पछाडि अस्थायी रूपमा सञ्चालन हुँदै आएको छ। , 'सतः सामूहिक रूपमा प्रयोग गर्न सकिने ठाउँ हो। वडा कार्यालय पनि हाम्रो समाजकै हिस्सा भएकाले अन्य विकल्प नहुँदासम्म ठाउँ दिन लागिएको हो,' महर्जनले भने, 'जिविसले खासमा वडा भवन बनाउन लागेको थियो। हामीले वडा भवनसहितको तलेजु मन्दिर बनाउन उहाँहरूलाई आग्रह गरेपछि बन्न लागेको हो।', तलेजुलाई कुमारीको अर्को रूप पनि मानिन्छ। यहाँ पहिले जीवित कुमारी थिइन् वा थिइनन् भन्ने थाहा छैन। तर तलेजु पुजारी भने अझै छन्। यहाँको दरबार कहिले भग्नावशेषमा परिणत भएको थियो भन्ने प्रमाण अझै जुट्न सकेको छैन। स्थानीयहरू भने पृथ्वीनारायण शाहको गोर्खा फौजले कीर्तिपुर आक्रमण गर्दा दरबार भत्किएको हुन सक्ने अनुमान गर्छन्।, दरबार नभए पनि लायकु भन्ने ठाउँ हुनु, लायकु केब अर्थात दरबारको बगैंचा र उमामहेश्वर मन्दिर पछाडिको कोतघर यहाँ हुनु दरबार भएको प्रमाण हुन्। अर्को प्रमाण तलेजु भवानीको मन्दिर हो जसलाई राजाहरूको कुलदेवी मानिन्छ। यी सबै राजदरबारका विशेषता हुन्।, कीर्तिपुर वडा नम्बर १ का अध्यक्ष हीरालाल महर्जनका अनुसार करिब तीन करोड रूपैयाँ बजेटमा यो भवन निर्माण हुँदैछ।, उक्त ठाउँ कुनै समय खुला शौचालयको रूपमा समेत प्रयोग भएको उनले देखेका छन्।, त्यो ठाउँमा आफ्नो वडा भवनसहित मन्दिर ब्युँताउन पाउँदा खुसी व्यक्त गर्दै उनले भने, 'हामीले हाम्रो वडा भवनसहित इतिहास पनि ब्युँताउन पाएका छौं। यो कीर्तिपुरका लागि अर्को इतिहास हुनेछ।', ३ करोडमा यस्तो बन्दैछ कीर्तिपुर दरबारको हिस्सा
सेतोपाटी संवाददाता बैतडीमा एक जना शिक्षक मृत फेला परेका छन्।, पाटन नगरपालिका– ६ को कुष्ण माध्यमिक विद्यालयमा कार्यरत अन्दाजी ५० वर्षीय धनबहादुर विष्ट मृत फेला परेका हुन्।, उनी शनिबार दिउँसो कार्यरत विद्यालय नजिकै पाटन बहुमुखी क्याम्पसको होस्टेलमा मृत फेला परेका हुन्।, विष्ट सोही होस्टेलमा बस्दै आएका थिए। उनको घर बैतडीको सुर्नया गाउँपालिका–२ ग्वानी हो।, अहिले घटनास्थलमा प्रहरी टोली खटिएको छ। आफन्तहरू नआउञ्जेल शव नउठाउने कुरा भएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए।, ‘अहिले आफन्तलाई कुरिरहेका छौं, शवलाई छोएका छैनौं। त्यही कारण शव कस्तो अवस्थामा छ भन्न सकिँदैन, आफन्तहरू पुगेपछि हेर्नेछौं,’ शाहीले भने।, बैतडीमा क्याम्पसको होस्टेलमा शिक्षक मृत फेला
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाको महानगर दिवसको अवसरमा नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ। , बुधबार ३८ औं महानगर दिवसको उपलक्ष्यमा महानगर र नेपाली सेनको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको महानगरपालिकाले जनाएको छ। , शिविरमा जनरल फिजिसियन, कार्डियोलोजी, छाती रोग, सर्जरी, स्त्री रोग, अल्ट्रासाउन्ड बाल रोगको उपचार गरिने छ। , यस्तै, आँखा रोग, नाक, कान, घाँटी रोग, नसा हाड जोर्नी रोग, फिजियोथेरापी, छाला रोग, नसा तथा मानसिक रोग, दन्त रोगको उपचार गरिने महानगरले बताएको छ। , महानगरका अनुसार शिविरमा निःशुल्क औषधि वितरण समेत हुने र उक्त सेवा मंसिर २८ र २९ गतेसम्म नेपाली सेनाको खेल मैदानमा हुने छ। , हेर्नुहोस् सूचनाः, काठमाडौं महानगरको दुई दिने निःशुल्क स्वास्थ्य शिविर
रासस विद्यार्थी चौरमा राखिएका डेस्क बेन्चमा पढिरहेका थिए। नजिकै पिपल चौतारा र मन्दिर। अर्को छेउमा शौचालय तथा खानेपानी र बीचमा खुला चौरले नै सिद्धिगणेश आधारभूत विद्यालयको आंशिक परिचय दिइरहेको थियो।, लहरै बालकक्षादेखि ५ कक्षामा पढ्ने बालबालिका आफ्नै धुनमा किताब पल्टाइरहेका थिए। शिक्षकले कक्षालाई समय दिएर कसैलाई लेख्न त कसैलाई पढ्न लगाएका थिए। , त्यतिकैमा एउटा अनुगमन टोली आइपुग्यो र बाहिर चौरमै बसेर अनौपचारिक रूपमा शिक्षकसँग जानकारी लियो।, यता विद्यार्थीलाई भने विद्यालयमा नयाँ मान्छे आएकोमा कुनै चासो थिएन। जब टोली भान्छा कोठा हुँदै कक्षा कोठातिर गयो, त्यसपछि पनि विद्यार्थी त्यही गतिमा थिए। टोलीले विद्यार्थी अनुशासित हुन् या अल्छी हुन् भन्दै कानाखुसी गर्न थाले। कक्षा कोठाबाट फर्केपछि टोलीको निष्कर्ष रह्यो विद्यार्थी अनुशासित छन्।, कक्षा कोठाको अनुगमनपछि शिक्षक शिक्षिकासँगका छलफलमा प्रधानाध्यापक मायादेवी मल्लले सिद्धीगणेशको बाहिरी वातावरण जति सुन्दर भए पनि भित्र त्यस्तो नभएको बताइन्।, 'बाहिर हेर्दा त यहाँहरूले पनि धेरै नै मन पराउनुभयो। तर, भित्री रूपमा विद्यालय सोचेभन्दा धेरै नै फरक छ', उनले भनिन्।, प्रअ मल्लले गाउँपालिकामा पटक–पटक विद्यालयमा शिक्षकका लागि माग गर्दा पनि गाउँपालिकाले बेवास्ता गरेको आरोप लगाइन्।, अनुगमनमा आएको गाउँपालिकाको टिमकै अगाडि उनले भनिन्, 'उहाँ सरहरूलाई थाहा छ, हामीले शिक्षक चाहियो भनेको दुई/तीन वर्ष नै भइहाल्यो। हामी तीन जना शिक्षकले छ कक्षासम्म कसरी पढाउने ?', प्रअ मल्लका अनुसार कार्यतालिकामै एउटै कक्षामा ४/५ कक्षासम्म राखिएका छन्।, 'तर, तीन जना कता शिक्षकले कता पो हेर्नु? एक जना शिक्षक पालिकाले पठाइदिनुभयो भने राति निन्द्रा लाग्ने थियो।' उनले दुखेसो पोखिन्।, 'आज त प्रत्यक्ष आफ्नै विद्यालयमा भन्ने मौका पाएँ,' उनले भनिन्, 'यसभन्दा अगाडि पालिकाका सबै प्रतिनिधिलाई शिक्षकको याचना गरेँ, हुन्छ धेरैले भन्नुभयो, तर अहिलेसम्म शिक्षक पाएनौं। हामीले नै शिक्षक थप्न आन्तरिक स्रोतको अभाव छ। अहिले भएका शिक्षकमध्ये पनि एक जना मात्रै बिदामा बस्नुभयो भने यहाँ बेहाल हुन्छ।', उनले शिक्षककै अभावले पढाइको गुणस्तर पनि खस्किएको बताइन्।, उनले भनिन्, 'विद्यालयको वातावरणका लागि त धेरैले सहयोग गर्नुभएको छ। सङ्घ/संस्था नभइदिएको भए यस्तो वातावरण पनि हुने थिएन। कसैले खानेपानी, कसैले खाद्यान्न, कसैले तरकारी त कसैले भवन पनि सहयोग गर्नुभएको छ। त्यसैले वातावरण राम्रो देखिएको हो। तर, यो सबभन्दा पनि विद्यार्थीको पढाइ हेरिन्छ, त्यसमा हामीले निकै चुक्नु परेको छ।', उनका अनुसार यसै शैक्षिक सत्रमा मात्रै २५ जना बालबालिका निजी विद्यालयमा पढ्न गए।, 'उहाँहरूलाई हामीले रोक्न सकेनौं', उनले भनिन्, 'पढाइ बिग्रिएको भन्दै अभिभावक यो विद्यालय छुटाउनुभयो। शिक्षककै कमीले यस्तो अवस्था आएको हो। हामी एउटै शिक्षक थपिए पनि त्यो अवस्था आउन दिने थिएनौं।', विद्यालयमा समस्या थुप्रै भए पनि शिक्षक अति आवश्यक भएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष नवराज भारतीले बताइन्।, 'म अध्यक्ष भएको दुई वर्ष भयो,' उनले भने, 'दुई वर्षको अवधिमा शिक्षकका लागि दजनौं पटक पालिकालाई याचना गरेँ, उहाँले सुन्नुभयो तर, कार्यान्वयन गर्नुभएन। यसपटक पालिकाको टोली विद्यालयमै पुगेको छ। अब त बिर्सनु हुनेछैन भन्ने सोचेको छु।' , अध्यक्ष भारतीका अनुसार विद्यालयमाभित्र नदेखिने समस्या धेरै छ। अहिले डिजिटल युगमा कम्प्युटर त के विद्यालयमा एउटा फोटोकपी गर्ने मेसिनसमेत छैन।, 'केही फोटोकपी गर्नुपरे बागथला दौडनुपर्छ',अध्यक्ष भारतीले भने,'हामीलाई फोटोकपी, शैक्षिक सामग्री, विद्यालयको घेरबारभन्दा पनि शिक्षक बढी आवश्यक छ।', अहिले सिद्धिगणेश आधारभूत विद्यालयमा एक सय ५० जनाभन्दा बढी विद्यार्थी छन्।, बालकक्षादेखि ५ कक्षासम्म अध्ययन हुने विद्यालयमा अभिभावकले पनि खासै चासो राखेका छैनन्।, 'अभिभावक खासै आउनुहुन्न। अन्तिममा नतिजा हेर्नुहुन्छ। नतिजा ठीक नभए, पढाइ भएन भन्दै बालिबालिका अर्कै विद्यालयमा पठाउनुहुन्छ,' भारतीले भने।, उनका अनुसार एक जना शिक्षक थपिए पनि धेरै राम्रो नतिजा त आउँदैन तर, विद्यार्थीलाई ओगट्न सकिन्छ।, 'एक शिक्षक थप्ने बित्तिकै धेरै राम्रो हुने भन्ने त हुँदैन तर पनि विद्यार्थीको रेखदेख, कक्षा समाल्न निकै राहत हुन्थ्यो।', यता गाउँपालिकाका उपाध्यक्ष मनिषा धामी, प्रमुख प्रशासकीय अधिकृत पदमराज उपाध्याय, शिक्षा संयोजक केशवराज भट्ट, स्वास्थ्य संयोजक कैलाश बलायर लगायतको टोलीले भने अब पुस महिनाभित्रै सिद्धिगणेशमा शिक्षक राख्ने बताउँछन्।, 'योभन्दा अगाडि विभिन्न कारणले शिक्षक पठाउन सकिएन। अब भने दोस्रो हप्ता नै शिक्षक उपलब्ध गराउँछौं', प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले भने, 'हामी सबै यस्तै विद्यालयबाट पढेर आएका हौं। पर्याप्त शिक्षक नभएर केही हुँदैन। पालिकामा पनि हामी नयाँ आएको हुँदा ढिलाइ भएको हो। अब दोस्रो महिना नै सिद्धिगणेशमा शिक्षक पुर्‍याउँछौं।', विद्यालयमा नयाँ शिक्षक आएपछि शिक्षाको गुणस्तर पनि सुधार हुने उपाध्यक्ष धामीले बताइन्।, 'हामी सबै शिक्षक पेसा सम्हालेर आएका हौं, शिक्षकलाई विद्यार्थी सम्हाल्न कति हम्मेहम्मे हुन्छ भन्ने कुरा बुझेका छौं। पर्याप्त शिक्षक नभएर केही हुँदैन। त्यसैले यसपटक पालिकाले तत्कालै एक जना शिक्षक उपलब्ध गराउने र अर्को वर्षसम्म पुग्ने गरी शिक्षकको व्यवस्था गर्नेछौं,' उनले भनिन्।, तीन शिक्षकले कक्षा छसम्म कसरी पढाउने?
सेतोपाटी संवाददाता काभ्रेको बेथानचोक गाउँपालिका-४  चलाल गणेस्थानमा मंगलबार साँझ बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भयो। दुर्घटनामा घाइते २१ जनाको उपचार जारी छ। एक जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। बसमा ३९ यात्रु सवार थिए।, बा ३ ख ४३८५ नम्बरको उक्त बस बेथानचोक-५ स्थित च्याल्टी पुगेर बनेपा नगरपालिका-११ फर्किँदै गर्दा दुर्घटना भएको हो। , दुर्घटना हुँदा १५ जनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा मृत्यु भएको हो। , यति धेरै मान्छेको हताहती भएको बस दुर्घटनाको कारण के हो भनेर हामीले जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी चक्रराज जोशीलाई सोधेका छौं। , उनका अनुसार बस बाटोबाट तल कतै पनि झरेको छैन। अनियन्त्रित भएर पिच सडकमै दुर्घटना भएको हो। , ‘बस कतै झरेको छैन। अनियन्त्रित भएर सुरूमा भित्तामा गएर ठोक्कियो,’ उनले भने, ‘त्यसपछि फेरि पिच सडकमा बजारियो। त्यसपछि फेरि भित्तामा ठोक्किएको हो।’, भित्तामा पनि ठूला ढुंगामा ठोक्किएको उनले बताए। यसरी दुबैतिर ठोक्किएकै कारणले पनि ज्यान गुमाउनेको संख्या धेरै भएको हो। , उनका अनुसार बस तीव्र गतिमा थियो।  सुरूमा दुर्घटना भएको खबर पाउँदा उनले यसमा यति धेरै हताहती भयो होला भन्ने नसोचेको बताए। , ‘गति धेरै थियो जस्तो लाग्छ। मैले सुन्दा यसमा एक दुई जनाको मात्रै मृत्यु र केही मात्रै गम्भीर घाइते होला भन्ने अनुमान थियो,’ उनले भने, ‘अरू सामान्य नै होलान् भन्ने सोचेको थिएँ।’, उनले थपे, ‘एकातिर ढुंगामा बजारियो, अर्को तिर पिचमा। बसका दुईतिरका झ्यालमा भित्ता र सडकमा बजारिँदा या्त्रुको टाउको चोट लागेका  धेरैको मृत्यु भएको हुनसक्छ।’, मृतकहरूमध्ये धेरैको टाउकोमै चोट देखिएको पनि उनले बताए। , घटनामा घाइते भएका व्यक्तिहरू धेरै जना उपचाररत भएकाले सोधपुछ गर्न नपाएको पनि उनले बताए। , प्रहरीले यस दुर्घटनाबारे कारणको खोजी गरिरहेको छ। सामान्य घाइते रहेका सहचालकसँग पनि सोधेको छ। उनले पनि विस्तृत रूपमा बताउन सकेका छैनन्। , ‘सहचालक घाइते छन्। उनलाई हामीले सोध्यौं पनि तर बताउन सकेनन्,’ उनले भने, ‘भित्तामा ठोक्किएपछि बेहोस भएका रहेछन्।’, दुर्घटना पाएको खबर पाएपछि उद्धारका लागि बेथानचोक-४ का वडाध्यक्ष कृष्णबहादुर लामा पनि खटिएका थिए। , उनले पनि चालकले ब्रेक समाउन नसक्दा दुर्घटना भएको बताए। केही ओरालो र मोड भएकाले पनि दुर्घटना भएको उनी बताउँछन्। , ‘ओरालो ठाउँ हो। झर्ने क्रममा गाडीको स्पिड नियन्त्रण गर्न सकेन। गाडी बचाउनको लागि भित्तातिर लगेको जस्तो देखिन्छ। त्‍यसरी भित्तामा बजारिएपछि गाडी चकनाचुर भयो,’ उनले भने, ‘घटनास्थलमै १५ जनाको ज्यान गुएको थियो। दुई जनाको उपचारको क्रममा मृत्यु भयो।’, दुर्घटनामा मृत्यु हुनेमध्ये १३ जनाको मात्रै सनाखत भएको छ। बाँकी चार जनाको सनाखत गर्ने काम भइरहेको पनि प्रहरीले जनाएको छ। , एसपी चक्रराज जोशीका अनुसार मृतकहरू बनेपा नगरपालिका–११ की ७९ वर्षीया निर्मला तामाङ, ११ वर्षीय योगेश तामाङ, ५० वर्षीय अंकुर तामाङ, ४३ वर्षीया हेमा तामाङ, १० वर्षीय पुष्कर तामाङ, २५ वर्षीया कोपिला तामाङ र ६ वर्षीया श्रेया तामाङ छन्।, त्यस्तै बनेपा नगरपालिका–१४ का ३९ वर्षीय राजकुमार तामाङ, २८ वर्षीया गीता श्रेष्ठ, मण्डनदेउपुर नपा–१ का ३७ वर्षीया जेली तामाङ, धुलिखेल नपा–११ का ३० वर्षीय बुद्ध तामाङ र बेथानचोक गाउँपालिका–५ की ३२ वर्षीया मञ्जु तामाङको पनि मृत्यु भएको छ।, बस चालक ललितपुरको महाँकाल–४ घर भई हाल पनौती-४ बस्ने २२ वर्षीय सन्तोष तिमल्सिनाको पनि मृत्यु भएको छ। मृत्यु भएकामध्ये सात जना बनेपाको एउटै वडाका छन्।, घाइतेको धुलिखेल अस्पताल, बनेपास्थित शिर ममोरियल अस्पताल, मध्यपुर ठिमी अस्पताल, वीर अस्पताल, न्यूरो अस्पताल बाँसबारी लगायतमा उपचार भइरहेको छ।, कसरी यति धेरै यात्रुको ज्यान गयो बेथानचोक बस दुर्घटनामा?
सेतोपाटी संवाददाता श्रीमतीमाथि घरेलु हिंसा र दाइजो लिएको आरोपमा एक जना डाक्टर पक्राउ परेका छन्। , जिल्ला प्रहरी कार्यालय महोत्तरीले बिहीबार राती डाक्टर पंकज चौधरीलाई रामगोपालपुरस्थित उनको घरबाट पक्राउ गरेको एसपी कृष्ण पंगेनीले जानकारी दिए। , उनी र महोत्तरीकै औराहीकी नेहा चौधरीको ९ महिनाअघि विवाह भएको थियो। उक्त विवाहमा अत्यधिक दाइजो लिएको भन्ने जाहेरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। , यसअघि उनीमाथि घरेलु हिंसामा जाहेरी परेको थियो। त्यस मुद्दामा अझै पनि अनुसन्धान जारी भएको एसपी पंगेनीले बताए। , ‘पहिलेको मुद्दामा पनि अनुसन्धान जारी नै छ। अहिले फेरि दाइजोसम्बन्धी जाहेरी परेकाले हामीले पक्राउ गरेका हौं,’ उनले भने।, मुलुकी अपराध संहीता, २०७४ को दफा १७४ मा विवाहमा लेनदेन गर्न नहुने उल्लेख छ। , ‘परम्पराअनुसार सामान्य उपहार, भेटी, दक्षिणा वा शरीरमा लगाएका एकसरो गहनाबाहेक विवाह गर्ने दुलाहा वा दुलहीका तर्फबाट कुनै किसिमको चल, अचल दाइजो वा कुनै सम्पत्ति माग गरी वा लेनदेन शर्त राखी विवाह गर्न वा गराउन हुँदैन,’ यस दफामा उल्लेख छ। , यस अनुसार तीन वर्षसम्म कैद वा ३० हजार जरिवाना वा दुबै सजाय हुने उल्लेख छ। त्यस्तै विवाहपछि पनि दाइजो माग्ने र दाइजो नदिएकाले दुलही वा नातेदारलाई हैरान पार्ने, सताउने वा अमानवीय व्यवहार गरेमा ५ वर्षसम्म कैद वा ५० हजार जरिवाना वा दुबै सजाय हुने व्यवस्था छ। , नेहाका अनुसार उनीहरूको विवाहमा २० तोला सुन, फर्निचर लगायत सामान गरी एक करोड २५ लाख खर्च भएको थियो। विवाहको केही दिनपछि नै पंकजले काठमाडौंमा घर किनेर दिन दबाब दिएको पनि लेखेकी छिन्।, पंकजले के-कति दाइजो लिएका थिए भन्ने खुलिनसकेको एसपी पंगेनीले बताए। , नेहा र पंकजबीच प्रेम भएपछि आफ्नो परम्पराअनुसार नै विवाह भएको थियो। पंकज ग्रान्डी अस्पतालमा काम गर्थे। , तर विवाह भएको केही दिनदेखि नै घरमा श्रीमान, सासु र नन्दहरूले गाली र अभद्र व्यवहार गरेको भन्दै नेहाले सामाजिक सञ्जालमा लेखेकी थिइन्। , उनले यस घटनाबारे एक महिना अघि आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेकी थिइन्। , ‘म दुःख-सुख गरी बसिरहेकी थिएँ। मेरो श्रीमान काठमाडौं बस्नु हुन्छ, ग्रान्डी अस्पतालमा काम गर्नुहुन्छ। मलाई पनि आफूसँगै राख्नु भन्ने वित्तिकै कुटपिट पनि गर्नुहुन्थ्यो,’ उनले लेखेकी थिइन्। , यसरी घरेलु हिंसा भएपछि उनले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा जाहेरी दिएकी थिइन्। , एसपी पंगेनीका अनुसार घरेलु हिंसाको जाहेरी परेपछि त्यतिबेला पनि पक्राउ गरी केही दिन हिरासतमा राखिएको थियो। तर पछि उनी छुटेका थिए। , दाइजो लिएको र श्रीमतीलाई कुटपिट गरेको आरोपमा डाक्टर पक्राउ
सेतोपाटी संवाददाता रूपन्देहीको सिद्धार्थनगर नगरपालिकाले पराल, प्लाष्टिक तथा घाँसपात जलाउन स्थानीयलाई प्रतिबन्ध लगाएको छ।, नगरका विभिन्न क्षेत्रका खेत खलियान तथा खाली जग्गामा फाँडिएको झाडी, धानको बोटको जरा, पराल तथा प्लाष्टिकजन्य फोहोर जलाउँदा वातावरण प्रदुषित भएको तथा जनस्वास्थ्यमा असर परिरहेको भन्दै यस्ता वस्तुहरू नजलाउन आग्रह गरेको हो।, नगरपालिकाले आफ्नो आग्रहलाई वेवास्ता गर्दै कसैले यस्ता वस्तुहरू जलाएको पाइएमा कानुनबमोजिम कारबाही गर्ने पनि जनाएको छ।, यस्तै, नगरपालिकाले नगरका सडक पेटी तथा सार्वजनिक स्थान अतिक्रमण गरी सञ्चालन गरिएका व्यवसाय तथा संरचना हटाउन आग्रह गरेको छ।, सडक पेटी र सार्वजनिक स्थान अतिक्रमण गरी बनाइएका संरचना र व्यवसायले यात्रुहरूको आवागमनलाई असर गर्नुको साथै नगरको सुन्दरतामा समेत प्रतिकूल प्रभाव पारेको भन्दै सडक अतिक्रमण हटाउन आग्रह गरेको हो।, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौडेलले नगरपालिकाको आग्रहलाई बेवास्ता गर्दै सडक पेटी र सार्वजनिक स्थान अतिक्रमण गरी व्यवसाय गरेको पाइए कानुन अनुसार कारबाही गरिने जानकारी दिए।  , विगतदेखि सिद्धार्थनगरका विभिन्न चोक तथा मुख्य सडकमै स्थानीयले थुपार्दै आएको फोहोर व्यवस्थापनको विषयमा भने नगरपालिका मौन रहेको छ।, सिद्धार्थनगरमा पराल, प्लाष्टिक तथा घाँसपात जलाउन प्रतिबन्ध
सेतोपाटी संवाददाता काठमाडौंको तारकेश्वर ४ मा टिपरको ठक्करपछि सविन फुयालको हत्या गरिएको भन्दै त्रिचन्द्र क्याम्पसका विद्यार्थीहरूले प्रदर्शन गरेका छन्।, दोषीमाथि कारबाहीको माग गर्दै त्रिचन्द्रका विद्यार्थीहरूले आज प्रदर्शन गरेका हुन्। , त्रिचन्द्र क्याम्पस पढ्ने विद्यार्थी सविनलाई गत मंसिर २५ गते टिपरले ठक्कर दिएको थियो। टिपरको ठक्करले घाइते भएका सविनलाई चालकलगायतले हत्या गरेको भन्दै विद्यार्थीले प्रदर्शन गरेका छन्।, ‘साथी सविनको हत्यारामा संलग्नलाई कारबाहीको माग गर्दै प्रदर्शन गरिएको हो,’ विद्यार्थी गोविन्द कोइरालाले भने।,  , तारकेश्वर घटना- सविन फुयाललाई न्याय माग गर्दै त्रिचन्द्रका विद्यार्थीको प्रदर्शन
सुदीप श्रेष्ठ पछिल्ला केही दिनमा काठमाडौं महानगरका प्रहरीले सडक किनार व्यापार गर्ने साना व्यवसायीहरूका ठेला लखेटी लखेटी खोसिरहेका भिडिओ सामाजिक सञ्जालमा भाइरल भएका छन्।, तरकारी बेच्ने, खानेकुरा बेच्ने, खिद्रीमिद्री सामान बेच्ने यी साना र निर्वाहमुखी व्यवसायीमाथिको धरपकडको भिडिओ त हामीले देखेका छौं। तर उनीहरूलाई देखेका छैनौं, उनीहरूको जीवन देखेका छैनौं। ती जीवनले भोगेको संघर्ष देखेका छैनौं।, महानगर प्रहरीको कृत्यबाट प्रताडित भइरहेका यी साना व्यवसायी को हुन्? उनीहरू कहाँबाट आएका हुन्? आफ्नो थातथलो छाडेर ‘अर्काको’ सहरमा किन आएका हुन्? एउटा ठेला र त्यसमाथि उभ्याएको व्यवसायको अर्थ उनीहरू र उनीहरूको परिवारका लागि के हो? ठेला खोसिँदा उनीहरूको साधन खोसियो कि जिन्दगी? ठेला खोसिएपछि कसरी चल्दैछ उनीहरूको जिन्दगी?, यो स्टोरी काठमाडौं महानगरमा लखेटी-लखेटी ठेला खोसिएका तिनै मानिसहरूको कथा हो। अनि उनीहरूलाई हामीले खोज्दै जाँदाको कथा पनि हो।, कथा सुरू गरौं, ती पात्रहरूको खोजीबाट।, सडक व्यापारीहरूलाई लखेटी लखेटी ठेला खोसिएको एउटा ठाउँ म्हेपी, मित्रनगर मार्ग हो भन्ने एउटा ‘क्लू’ भिडिओमा थियो। त्यही क्लूले मलाई त्यहाँ पुर्‍यायो।, नयाँ बसपार्कबाट म्हेपी अजिमा मन्दिरसम्म तन्किएको सडकलाई मित्रनगर मार्ग भनिन्छ। यहाँ सडकका दायाँबायाँ र मूल सडकबाट छुट्टिने सहायक बाटाहरूमा समेत लगभग प्रत्येक घरमा होटल, गेस्ट हाउस र लजहरू छन्। जहाँ होटल वा लज छैनन्, त्यहाँ रेस्टुरेन्ट र दोहोरी साँझ खुलेका देखिन्छन्। यी प्रायः काठमाडौंको बाटो हुँदै वैदेशिक रोजगारमा जान लागेका वा वैदेशिक रोजगारबाट फर्केका व्यक्तिहरूको दुई–चार दिनको बसाइ थलो हो।, सोमबार दिउँसो दुई बजेतिर म त्यो ठाउँ पुग्दा बजार व्यस्त थियो। गाडी र मोटरसाइकलको आवागमन र मान्छेको ओहोरदोहोरले सडक भरिभराउ थियो। मैले सामाजिक सञ्जालमा भाइरल भिडिओ आफ्नो मोबाइलमा सेभ गरेको थिएँ। जसै म बसपार्कबाट मित्रनगर मार्ग प्रवेश गरेँ, मैले त्यहाँका थुप्रै किराना पसल र होटलहरूमा त्यो भिडिओ क्लिप देखाएँ र त्यसमा देखिएका पात्रहरूलाई चिन्नुहुन्छ भनेर सोधेँ।, सुरूमा चिन्ने मान्छे कोही भेटिएनन्। अलि तल आएपछि एउटा होटलकी साहुनीले अझै तल्लो बस्तीतिर इसारा गर्दै भनिन्, ‘यो त उ त्यहाँको घटना हो। त्यता गएर सोध्नुस् त, उहाँहरू चिन्नुहुन्छ कि!’, म उनले इसारा गरेको ठाउँतिर गएँ र सडकछेउको एउटा किराना पसलमा सोधेँ।, भिडिओ क्लिप देख्नासाथ किराना पसलकी दिदीले पहिले जिब्रो टोकिन् अनि दुई ओठ चुच्चो पारेर च्व च्व गरिन्।, ती दिदीको नाउँ, पार्वता शर्मा। उनले पसल चलाउन थालेको आठ वर्षभन्दा बढी भएछ। र, लगभग त्यति नै समय भइसकेछ ती सडक व्यापारीहरूलाई देखेको, चिनेको।, ‘यी सबै यहीँका मान्छे हुन् बरा,’ उनको स्वरमा ती पात्रहरूप्रति दयाभाव र सहानुभूति मिसिएको थियो, ‘हामी यहाँ बस्न थालेदेखि यिनीहरूलाई देखिरहेको छु।’, उनले भिडिओ क्लिपको एउटा अंश देखाउँदै भनिन्, ‘यी दिदी त अघि भर्खर डोकोमा साग बोकेर यता हिँड्दै थिइन्। महानगरले गाडा खोसेर लगिहाल्यो, अहिले डोकोमा बेच्दै हिँड्छिन्। कमाइ खाने भाँडो नै खोसेर लगेपछि के गरोस् बरा!’, खासमा त्यो भिडिओ यो ठाउँमा यति भाइरल रहेछ, पार्वता शर्मालाई त्यसमा देखिने एक–एक पात्र कन्ठ थियो। उनले भिडिओ क्लिप हेर्दै नहेरी भनिन्, ‘यसमा एक जना बर्को ओढेकी दिदी हुनुहुन्छ नि, जो रोइरहनुभएको छ ...’, मैले भिडिओमा उनले भनेको दृश्य देखाइदिएँ।, ‘हो यिनै दिदी, कस्तरी रूनुभएको थियो बरा त्यो दिन,’ पार्वताले भनिन्, ‘साह्रै दुःख पाएको मान्छे हो। दुई जना सान्साना छोराछोरी छन्। श्रीमानले साह्रै दुःख दिए क्यार, त्यही ठेलामा तरकारी बेच्दै छोराछोरी पढाइरहनुभएको छ।’, त्यही बेला बाटोमा चार–पाँच जना स्कुलका नानीहरू हिँड्दै गरेका देखिए। पार्वताले ती नानीहरूतिर इसारा गर्दै भनिन्, ‘उ त्यो नानी देख्नुभयो, ठ्याक्कै त्यत्रै छे, त्यो दिदीको ठूली छोरी।’, मैले उनको हातको इसारा पछ्याउँदै ती स्कुले नानीलाई हेरेँ — लगभग आठ–दस वर्षकी हुँदी हो।, पार्वताले त्यसपछि आफ्ना दुई हात आधा मिटरजति चौडा पारिन् र भनिन्, ‘मैले त इत्री हुँदादेखि देखेको!’, उनले अगाडि थपिन्, ‘तरकारी लिन बिहान दुई–तीन बजे नै माछापोखरी पुग्छिन्। पहिले पहिले केटाकेटी सान्साना हुँदा ठेलामै बोकेर हिँड्थिन्। अचेल चाहिँ घरमै छाड्छिन् क्यारे, सँगै लगेको देख्दिनँ।’, त्यही बेला अर्की एक महिला सलाई किन्न पसल आइन्। उनी त्यहीँछेउ होटल चलाउँदी रहिछन्। नाम, खिमा ओली। हाम्रो कुराकानी सुनेर उनले पनि मेरो मोबाइलमा भिडिओ हेरिन् र सहानुभूतिपूर्वक भनिन्, ‘यो दिदीको त खाने उपाय भनेकै त्यही ठेला हो। अब के गर्लिन् बिचरी?’, उनले यो पनि भनिन्, ‘जस्तो मेरो होटल छ, उहाँ दिदी (पार्वता) को पसल छ, तपाईं पत्रकार हुनुहुन्छ, तपाईंको आफ्नो अफिस छ, यी दिदीहरूको निम्ति ठेलागाडा पनि त्यस्तै हो नि! उहाँहरूका लागि पसल भने पनि, होटल भने पनि, अफिस भने पनि, कमाइ खाने भनेको त्यही ठेला हो। कमाइ खाने भाँडो नै खोसेर लगेपछि मान्छे कसरी बाँच्छ? दिदीको पसल, मेरो होटल, तपाईंको अफिसमा सरकारले ताल्चा मार्दियो भने हामी कसरी बाँच्छौं? हाम्रा केटाकेटी भोकभोकै मर्दैनन्?’, पार्वता र खिमाले भिडिओमा देखिने सबै पात्र चिने तर कसैको पनि नाउँ र बस्ने ठाउँ बताउन सकेनन्। पार्वता भन्दै थिइन्, ‘हामीले त सडकमा भेटेको, सडकमै चिनेको। दिदी–दिदी भनियो, नाउँ थाहा पाउने खाँचै परेन।’, मान्छेको चिनारी यस्तो पनि हुँदो रहेछ! अनुहार थाहा छ, दुःख बुझेको छ, नाता पनि लगाएकै छ तर परिचय अन्जान! आखिर भावनाको सम्बन्ध गाँसिने भावनासँग न हो!, म त्यही किराना पसलमा उभिएर पार्वता शर्मा र खिमा ओलीसँग कुरा गर्दै थिएँ, साइकलमा सामान डेलिभरी गर्ने एक व्यक्ति पसलमा आए। उनले पहिला सामान दिए अनि हाम्रो कुराकानीको भाव बुझेर भने, ‘धेरै दयामाया देखाउनु पर्दैन हो, तपाईंहरूलाई थाहा छ, यस्तै ठेलामा सामान बेचीबेची कतिले काठमाडौंमा घरखेत बनाएका पो छन् त!’, उनले अगाडि भने, ‘अरूलाई देखाउनलाई मात्र गरिब हुन् यी, भित्रभित्र हामीलाई किन्दिन पुग्ने पैसा हुन्छ यिनीहरूसँग। म पनि साइकलमा सामान बेच्दै हिँड्छु तर यिनीहरूलाई गरिब गरिब भनेको चाहिँ मलाई मन पर्दैन है। हामीभन्दा कता हो कता धनी हुन्छन्।’, म ती व्यक्तिको भनाइ डायरीमा टिप्दै थिएँ, पार्वताले उनको खण्डन गरिन्, ‘त्यस्तो पनि होइन बरा! कोही कोही होलान्, सबैले कहाँ घर बनाएका छन् र? ठेलामा तरकारी बेचेरै घर बनाउने त कति होलान् र?’, खिमाले थपिन्, ‘अरूको त थाहा छैन दाइ, तर अस्ति महानगरले गाडा खोसेर लगेका दिदीहरूलाई चाहिँ म बिचरी नै भन्छु है। हामीले चिनेको, जानेको मान्छे हो। साह्रै दुःख पाएका छन् तिनीहरूले।’, खिमाले यति भनेपछि पार्वताले फेरि थपिन्, ‘अनि कसैले गाडा चलाएर, मिहिनेत गरेर छोराछोरी पढाउँछ, हुर्काउँछ र कमाएर घरखेत किन्छ भने के भो त? के को डाढ? सके हामी पनि किन्छौं, तपाईं पनि किन्नुहुन्छ। घरखेत जोडेका छन् भनेर उनीहरूको घर चलाउने भाँडा नै खोस्न त भएन नि!’, कुराकानी अझै लम्बिन सक्थ्यो, तर मलाई त ती पात्रहरू खोज्नु थियो।, छुट्टिने बेला पार्वताले मलाई गत साता नगर प्रहरीहरूले धरपकड गरेको बाटो देखाइदिइन् र भनिन्, ‘भाइ आफ्नो नम्बर छाडेर जानू, म ती दिदीहरू भेट भयो भने फोन गरेर बोलाउँछु।’, मैले दुवैलाई आफ्नो नम्बर टिपाएँ अनि त्यहाँबाट पार्वताले देखाइदिएको बाटोतिर लागेँ।, अलि अगाडि बढेपछि देब्रेतिर ‘न्यू एसिया दर्शन गेस्ट हाउस’ लेखिएको साइनबोर्ड देखियो। यो गेस्ट हाउसको बोर्ड मैले भिडिओमा पनि देखेको थिएँ। यो त्यही बाटो थियो, जहाँबाट नगर प्रहरीहरूले सडक व्यापारीलाई रूवाई–रूवाई तिनको पेट पाल्ने सर–सामान खोसेर लगेका थिए।, मैले गेस्ट हाउसको आँगनमा घाम तापेर सुन्तला खाँदै गरेका दुई महिलालाई उक्त घटनाबारे सोधेँ। भिडिओ पनि देखाएँ। उनीहरूको अनुहारमा रिस र मायाको भाव एकैचोटि उम्लिएर आयो। भने, ‘यी एक जना दिदी त यहीँ पल्लो गल्लीको झुप्रोमा बस्नुहुन्छ। अघि भर्खर यही बाटो डोकोमा साग बोकेर हिँड्दै हुनुुहुन्थ्यो।’, म आफूले खोजेकोमध्ये कम्तिमा एक जना पात्रको नजिक आइपुगेको थिएँ। म ती दुई महिलालाई धन्यवाद भन्दै उनीहरूले देखाइदिएको गल्लीमा पसेँ।, गल्लीको मुखैमा एउटा सानो होटल थियो। मैले त्यहाँ गएर जसै खोजीनीति सुरू गरेँ, एक जना व्यक्तिले मुसुमुसु हाँस्दै भने, ‘उसको नाम रमा खत्री हो, म उसको लोग्ने हुँ।’, कस्तो संयोग! म जुन झुप्रोमा बस्ने सडक व्यापारी दिदीलाई खोज्न त्यो होटल छिरेको थिएँ, ती व्यक्ति उनकै श्रीमान पो रहेछन्! नाम, अर्जुन खत्री। उनी त्यही होटलमा भाँडा माझ्ने काम गर्दा रहेछन्।, ‘ओहो! गज्जबै भयो,’ मैले सोधेँ, ‘अहिले दिदी घरमा हुनुहुन्छ त?’, ‘अहिले त ऊ तरकारी बेच्न गएको छ,’ अर्जुनले जवाफ दिए, ‘खोई कति बेला पो आउँछ।’, ‘तपाईं एकचोटि फोन गरेर सोध्दिनू न, हुन्न?’, ‘मसँग मोबाइल छैन, तपाईं गर्ने भए नम्बर दिन्छु,’ अर्जुनले यति भनेपछि मैले उनीसँग रमाको मोबाइल नम्बर लिएर फोन गरेँ।, ‘आज एक मुठा साग बिकेन, म घरै आउँदैछु,’ रमाले फोनमा भनिन्, ‘तपाईं बस्दै गर्नू है, म आइहालेँ।’, करिब पन्ध्र मिनेटमा रमा मेरो अगाडि थिइन् — थाप्लोमा डोकोको नाम्लो भिरेकी, बाक्लो हरियो ज्याकेट, बाक्लो रातो कुर्ता, काँधमा पैसा बोक्ने कालो पर्स अनि मुखमा निलो मास्क।, म उनको अगाडि अगाडि साँघुरो गल्लीभित्र पसेँ। गल्लीको पुछारमा जस्ताले छाएको सानो झुपडी थियो। उनले झुपडीको आडैमा आफ्नो डोको बिसाइन्। हरियो सागसब्जीले डोको आधा भरिएको थियो।, रमाले आफ्नो कालो पर्सबाट साँचोको झुत्ता झिकिन् र जस्ता ठड्याएर बनाइएको ढोका खोलिन्।, भित्र अँध्यारो थियो। झ्यालका प्वालहरूबाट पसेको घामको किरणले भुइँमा ओछ्याइएको थोत्रो गलैंचा, पलङ र भाँडा माझ्ने गुलाबी रङको बाटा मात्र हल्का देखिन्थ्यो।, आफ्नो घरतिर बढ्दै रमा खत्री। तस्बिर: सुदीप श्रेष्ठ/सेतोपाटी, रमा खत्री बस्ने कोठा।, रमाले बत्तीको स्विच दबाइन्। कोठामा मधुरो प्रकाश पोखियो। त्यो मधुरो प्रकाश एकैपटक कोठाको भुइँ र उनको अनुहारमा पनि छरियो। झलमल्ल देखिए, भुइँमा गरिबी र अनुहारमा उनको संघर्ष।, मैले कोठा चारैतिर नियालेँ। नयाँ र सद्दे सामान केही थिएनन्। थोत्रा, च्यात्तिएका र फाटेका कपडा दराजमा छरपस्ट थिए। पलङमा कयौं दिनदेखि नधोएजस्ता देखिने मैला तन्ना र सिरक फिँजारिएका थिए। ढोकाका कापहरू उखेलिन लागेको थोत्रो दराजमा चौध इन्चको पुरानो टिभी थियो। ढोकाकै देब्रेतिर भान्छा थियो जहाँ कट्कटिएका जूठा भाँडाकुँडा छरिएका थिए। ग्यास चुह्लो पनि कयौं दिनदेखि पुछिएको थिएन, उम्लिएको दाल र तरकारीका टाटैटाटा देखिन्थे।, रमाले मलाई मैलो गलैंचामाथि होचो मूढामा बस्न भनिन् र आफू पलङमा गएर बसिन्।, हाम्रो कुराकानीको सिलसिला सुरू भयो।, उनी ४९ वर्षकी भइछन्। माइत खोटाङ रहेछ। घर पोखरा, किस्ती।, उनी करिब आठ वर्षअघि पहिलोचोटि काठमाडौं आएकी हुन्। घरमा पारिवारिक किचलो, श्रीमानको रक्सीको लत र खेती गरेर हातमुख जोर्न धौधौ परेपछि कामको खोजीमा काठमाडौं पसेको उनले बताइन्।, ‘गाउँमा त बसिसक्नु भएन। परिवारमा रातदिन झगडा, घरव्यवहार सधैं गाह्रो, अनि आफ्नो बूढा रातदिन रक्सी खाएर हिँड्ने, कामधाम केही छैन,’ उनले भनिन्, ‘केटाकेटीहरू भोकभोकै पर्लान् भनेर मेरै करकापमा काठमाडौं आइयो।’, यहाँ आएर सुरूका केही वर्ष रमाले आफ्नो माइतीतिरका नातेदारले खोजिदिएको होटलमा भाँडा माझ्ने काम गरिन्। श्रीमान पनि कहिले त्यही होटलमा काम गर्थे, कहिले बाहिर काम खोज्न जान्थे। उनको रक्सीको लत भने यहाँ आएर पनि छुटेन।, अलि अलि पैसा जम्मा गरेपछि उनी फेरि आफ्नो घर फर्किन्। काठमाडौं आएर पनि श्रीमानले परिवारको जिम्मेवारी नबुझेपछि हायलकायल भएर फर्किएको रमा बताउँछिन्।, ‘लोग्नेको पारा देखेर दिक्क लागेर फर्केँ, तर उता गएर पनि के गर्नू?’ उनले भनिन्, ‘फेरि उस्तै कलह, उस्तै दुःख।’, उनले अगाडि भनिन्, ‘कम्तिमा काठमाडौैंमा भए रातदिनको घरकलह त सहनुपर्दैन, बिहान–बेलुकी हातमुख जोर्न पनि समस्या हुँदैन भन्ने सोचेर फेरि यतै आएँ।’, दोस्रोचोटि काठमाडौं आउँदा पनि उनलाई माइतीका उनै नातेदारले होटलमा काम मिलाइदिए। श्रीमानको पारा उस्तै थियो। रमा अब भने जस्तो परिस्थिति आए पनि काठमाडौंमै संघर्ष गर्छु भन्नेमा दृढ थिइन्।, उनको दृढतालाई परिस्थितिले चुनौती दियो। उनी कयौं दिन काठमाडौंमा भोकभोकै परिन्। त्यही बेला कोरोनाको प्रकोप सुरू भयो। महामारीले देश लकडाउनमा गएपछि उनको रोजीरोटी बन्द भयो। कयौं दिन काम नपाएर एक सुका आम्दानी नभएपछि पानी उमालेर त्यसमा नुन, खुर्सानी हालेर खाएको उनी सम्झन्छिन्।, ‘त्यस्तो दुःखमा पनि म टिकेरै बसेँ। छरछिमेकले कहिल्यै नराम्रो गरेनन्,’ उनले भनिन्, ‘काठमाडौंले मलाई सधैं माया र साथ दियो।’, लकडाउन खुकुलो हुन थालेपछि छरछिमेककै सल्लाहमा रमाले बाटोमा फालेको नाङ्लो टिपेर त्यसैमा मकै, तरकारी बेच्दै हिँड्न थालिन्। यसले पेट पाल्न केही सुविस्ता भयो। पछि होटलहरू खुले र श्रीमान पनि अहिले काम गरिरहेकै होटलमा भाँडा माझ्न थाले।, ‘नाङ्लोमा तरकारी बेच्दै बेच्दै मैले अलिअलि पैसा जम्मा गरेर ११ हजार रूपैयाँमा पुरानो ठेला किनेँ,’ उनले भनिन्, ‘दुई वर्षजति भयो होला, मैले ठेलामा तरकारी बेच्न थालेको।’, तर अस्ति त्यही ठेलामाथि महानगरको आँखा पर्‍यो। महानगरका प्रहरी आएर ठेला खोसेर लगे।, ‘बल्लतल्ल किनेको ठेला पनि खोसेर लगेपछि अहिले डोकोमा बेच्न थालेको छु,’ उनले भनिन्।, रमा हरेक दिन बिहानै माछापोखरीसम्म गएर तरकारी किन्छिन्। उनका अनुसार तरकारी किन्न कहिलेकाहीँ त कुस्ती लडेजस्तै ठेलमठेल गर्नुपर्छ। बर्खा बेला राति १–२ बजे नै पुगिएन भने आफूले भनेको तरकारी पाइन्न। अहिले पनि बिहान ४ बजे नै माछापोखरी पुगिसक्नुपर्ने उनी बताउँछिन्।, ‘अस्तिसम्म ठेलामा बेच्दा र अहिले डोकोमा बेच्दा केही फरक परेको छ कि छैन?’, मेरो यो प्रश्नमा उनले भनिन्, ‘किन फरक नपर्नु? ठेलामा बेच्दा दिनको डेढ–दुई सय मुठा साग बेच्थेँ, कम्तिमा पाँच–छ सय रूपैयाँ कमाइ हुन्थ्यो। अहिले त सय–डेढ सय पनि कमाइ हुँदैन।’, यति मात्र होइन, पहिले उनी बिहान र बेलुकी दुई समय तरकारी बेच्थिन्। अहिले चाहिँ फेरि नगर प्रहरीको पासोमा परिएला भन्ने डरले बेलुकी मात्र निस्किन्छन्। त्यसमा पनि मूल सडकतिर कमै जान्छिन्।, रमाका दुई छोरी छन्। दुवैको बिहे भइसक्यो। अठार वर्षका छोरा पनि छन् तर छोराको कमाइ छैन। पढाइ पनि छैन। सात कक्षा पढेपछि स्कुल जान छाडे। बीचमा वैदेशिक रोजगार निम्ति कतार गए तर एक वर्ष पनि नबसी फर्केर आए।, ‘अलि अलि भएको पैसा पनि छोरालाई कतार पठाउनमै सकियो,’ रमाले भनिन्, ‘कमाएर केही ल्याएन, भएको पनि खेर फाल्यो।’, अहिले म्हेपीको झुपडीमा रमा र उनका श्रीमान अर्जुन मात्र बस्छन्। छोरा भक्तपुरतिर कतै बस्छन् भन्ने उनले सुनेका छन् तर भेटघाट छैन।, उनी बसिरहेको झुपडी पनि त्यही होटल साहुको हो। महिनाको तीन हजार रूपैयाँ भाडा तिर्नुपर्छ। झुपडीभित्रका पुराना दराज, पलङ पनि साहुले नै दया गरेर दिएको रमा बताउँछिन्।, ‘यो कोठामा मेरो आफ्नो भन्नु यिनै थोत्रा लुगाफाटा र ओढ्ने–ओछ्याउने मात्र हुन्,’ उनले भनिन्, ‘दराज, गलैंचा, टेबल, पिर्का सब साहुको हो।’, आफ्नो बारेमा सम्पूर्ण विस्तार लगाइसकेपछि रमाले महानगरको ठेलामुक्त अभियानको आलोचना गर्दै भनिन्, ‘हामी भनेको दिनभरि काम गरेर बेलुकी दालचामल किनेर खाने मान्छे। हामीले कमाइ गरेर खानुपर्ने ठेला, नाङ्लो, डोको सब लुटेर, हाम्रो जिन्दगी नै भताभुंग पारेपछि हामी के गरेर खानू?’, ‘महानगरका मान्छेहरू हामीलाई तरकारी बेच्ने भए पसल भाडामा लिनू भन्छन्। हरे शिव कस्तो बुद्धि नभएको! सटर भाडामा लिन सक्ने भइदिएको भए दिनभरि घामपानीमा ठेला घिसार्दै हिँड्ने, थाप्लो सुन्निने गरी डोको बोक्दै हिँड्ने रहर कल्लाई होला र? के हामी जिन्दगीमा केही दुःख पाइएन, त्यसैले नभएको दुःख बिसाउँछु भनेर ठेला घिसार्दै हिँडका हौं र? के भनेको त्यस्तो? पैसा भए त सटर पनि राखिन्थ्यो, दिनभरि पलेँटी मारीमारी बसिन्थ्यो नि, यो दुःख किन गरिन्थ्यो?’ उनले भनिन्।, रमाले अगाडि भनिन्, ‘हामी ठेलावालाहरूको जिन्दगी कस्तो हुन्छ भने नि सर, साथमा ठेला छ भने दुनियाँले पत्याउँछन्। दोकानदारले पनि यसको कमाइ छ, आज नभए भोलि तिर्छ भनेर सामान उधारो दिन्छ। अब त योसँग ठेला छैन, कसरी कमाउँछ, कसरी तिर्छ भन्ने भएपछि हामीलाई कसैले पत्याउँदैन।’, म चुपचाप उनको कुरा सुनिरहेको थिएँ। रमा सिधा मेरो आँखातिर हेर्दै एकोहोरो बोलेको बोल्यै थिइन्, मानौं मसँग मनको भडास पोख्दै छिन्।, उनी भन्दै थिइन्, ‘यसरी मान्छेको जिन्दगी लथालिंग, भताभुंग पारेर, दुनियाँको आँशु बगाएर के गर्न खोजेको हो सहरलाई? भन्नुस् त सर, मान्छेको जिन्दगी सप्रिए न सहर सुन्दर हुन्छ, मान्छेको जिन्दगी नै बिग्रिएपछि सहर जति सिँगारे पनि के गर्नु? यो त भित्रभित्र कट्कटिएको मैलो थुपारेर बाहिर–बाहिर लालीपाउडर घसेजस्तो भएन र? त्यत्रा पढेलेखेका मान्छेहरूको बुद्धि कस्तो हो यो? मान्छेको जिन्दगी नै खोसेर कसका लागि सहर राम्रो बनाउन खोजेको? मैले त बुझ्नै सकेको छैन।’, पचास वर्ष टेक्न आँटेकी रमालाई अहिले थुप्रै रोगले गिँजोल्न थालेको छ। उनी उच्च रक्तचाप, मधुमेह र थाइराइडको नियमित औषधि खान्छिन्। त्यसमाथि केही महिनाअघि डेंगी लागेपछि शारीरिक बल कम भएको उनी बताउँछिन्।, ‘रोगी त छँदै थिएँ, डेंगीले भएको बल पनि जम्मै खाइदियो,’ उनले भनिन्, ‘औषधिमै थुप्रो पैसा खर्च हुन्छ। अब यो डोकोको कमाइले भात खानू कि औषधि! भात खाए औषधि छैन, औषधि खाए भात छैन। कोठा भाडा पनि कसरी तिर्ने?’, ‘कहिलेकाहीँ त पिरै पिरले बाटोमा कतै भुक्लुक्क ढलेर मर्छु कि जस्तो पनि लाग्छ,’ उनले भनिन्।, ‘अनि यत्रो दुःख झेलेर बस्नु सट्टा आफ्नो घर किन जानुहुन्न त दिदी?’ मैले सामाजिक सञ्जालमा आइरहेका प्रश्न रमालाई तेर्स्याएँ।, ‘घरमा चाहिँ कसले ठिक्क पारेर राखेको छ र?’ उनले झर्किँदै जवाफ दिइन्, ‘गाउँमा बाँच्न सकिएन भनेर त काठमाडौं आएको, अब फेरि गाउँमै गएर के माटो खाएर बाँच्नू? माटो खानलाई पनि त आफ्नै जग्गा–जमिन चाहियो क्यारे! अर्काको त माटो पनि कसले खान दिन्छ र!’, उनले अगाडि भनिन्, ‘काठमाडौं त राजधानी हो नि, देशकै राजधानी। देशभरिकै मान्छे आउँछन् नि यहाँ। काम गर्न आउँछन्, कमाएर खान आउँछन्। के अब काठमाडौंलाई हामी गाउँका मान्छे बढी भएको हो? हामी झुपडीमा बसेको, ठेला चलाएर गरिखाएको पनि काठमाडौंले सहन नसकेको हो?’, ‘पहिले त काठमाडौं यस्तो थिएन सर! यो त्यो काठमाडौं हुँदै होइन!’, उनी यति भनेर झन्डै दुई मिनेट चुप्प लागिन्। म पनि केही बोलिनँ। सायद उनी रूँदै थिइन्। तर कोठाको प्रकाश यति मधुरो थियो, उनको आँशु सायद लुक्यो।, दुई मिनेटपछि उनले ख्याकख्याक गर्दै खोकिन्। मलाई देखाउन भनेर झिकेको औषधिको पोको बन्द गरेर सिरानीमुनि हालिन्। दराजमा पाइलट चुरोटको बट्टा थियो। एक खिली चुरोट र सलाई बाहिरै थियो। उनी सायद चुरोट सल्काउन चाहन्थिन्। तर सल्काइनन्।, लामो सुस्केरा हाल्दै भनिन्, ‘हामीले ठेला राखेर मान्छेलाई हिँड्न गाह्रो भयो रे। कल्लाई गाह्रो भयो? तपाईं पनि यहाँ आउँदा हिँड्दै आउनुभएको थियो, होइन? तपाईंलाई गाह्रो भएको थियो र?’, म चुप्प लागेँ।, पैदल हिँड्दाका मेरा आफ्नै अनुभव छन्।, महानगरले पैदलयात्रुहरूको सुविस्ताका लागि ठेलावाला, नाङ्लोवाला, डोकोवाला सडक व्यापारीहरू पन्छाएको भन्दै छ। उसको ‘ठेलामुक्त’ अभियान यही न्यारेटिभमा आधारित छ। यस्तो न्यारेटिभ बनाउनेहरू कति पैदल हिँड्छन्, मलाई थाहा छैन तर म चाहिँ प्रायः पैदलै हिँड्छु। पैदल हिँड्दा यी सडक व्यापारीहरू मेरो बाटोमा आउँछन्, नआउने होइनन्। तर उनीहरूलाई छलेर, दायाँबायाँबाट आफ्नो बाटो निकाल्न मलाई कहिल्यै गाह्रो भएको छैन। ठेलामा मानिसहरू अल्झिएको, लडेको मैले कहिल्यै देखेको छैन।, यी सडक व्यापारीभन्दा बढ्ता मेरो बाटो छेक्ने भनेका यहाँ जथाभाबी कुद्ने मोटरसाइकल र गाडीहरू हुन्। पैदल हिँड्न पैदलमार्ग नै नहुनु हाम्रो अर्को समस्या हो। सडकका दायाँबायाँ पार्किङमा राखिएका गाडीले त हाम्रो हिस्साको बाटोधरि खाइदिएको छ।, सबभन्दा ठूलो कुरा, अहिले जुन–जुन ठाउँमा महानगरको धरपकड चल्दैछ, ती भनेका मूल सडक हुँदै होइनन्। मूल सडकबाट छुट्टिने भित्री बस्तीका बाटाहरू हुन्, जुन प्रायः आवासीय क्षेत्रमा पर्छ। त्यहाँ सडक व्यापारले पैदलयात्रुलाई गाह्रो होइन, बरू वरपरका स्थानीयलाई किनमेल गर्न सजिलो बनाएको छ। बेच्नै नसकिने, ग्राहक आउँदै नआउने दरबारमार्गजस्तो ठाउँमा कसले ठेला चलाउँछ? कसले डोकोमा तरकारी बेच्छ?, यही म्हेपी, मित्रनगर मार्गकै उदाहरण लिऊँ। यहाँ जुन ठाउँमा नगर प्रहरीहरूले धरपकड गरे, त्यो न मूल सडक हो, न त्यहाँको सडक व्यापारले हिँड्नेहरूलाई कुनै अवरोध गरेको छ। महानगरले पैदलयात्रुहरूका नाममा ठेलावालाहरूलाई सडकबाट हटाउनकै निम्ति यो धरपकड गरेको हो भन्ने मित्रनगर आएपछि छर्लंग हुन्छ।, कुनै पनि सहरमा दुई किसिमको अर्थतन्त्र समानान्तर रूपले चलिरहेको हुन्छ — एउटा समृद्ध वर्गको अर्थतन्त्र जो ठुल्ठूला मल र डिपार्टमेन्ट स्टोरमा किनमेल गर्छ। अर्को, न्यूनमध्यम वर्ग र गरिबहरूको अर्थतन्त्र जसको उपभोग्य आवश्यकता रमाजस्तै सडक व्यापारीहरूले सस्तोमा पूर्ति गर्छन्। रमाहरूको ठेला खोसेर, उनीहरूलाई रोजगारविहीन बनाएर महानगरले उनीहरूको पेटमा मात्र होइन, काठमाडौंमा बसोबास गर्ने तमाम न्यूनमध्यम वर्ग र गरिबहरूको जीवनमा धावा बोल्दैछ।, मासिक तीन हजार भाडा तिरेर बसेको झुप्रोअगाडि रमा खत्री। तस्बिर: सुदीप श्रेष्ठ/सेतोपाटी, एकछिन यी सडक व्यापारीहरूप्रति कुनै पूर्वाग्रह नराखी कल्पना गर्नुस् त — कस्तो होला हाम्रो काठमाडौं सहर, यदि यहाँ महानगरले भनेजस्तो एउटा पनि सडक व्यापारी रहेन भने? , कस्तो होला हाम्रो काठमाडौं सहर, यदि हाम्रो घर र टोल छेउछाउ फलफूल, तरकारी, भाँडाबर्तन, लत्ताकपडा र शृंगारका खिद्रीमिद्री सामान बेच्ने ठेलावाला, नाङ्लोवाला व्यापारी आउन छाडे भने?, त्यो अवस्थामा हुनेखानेले त ठुल्ठूला मलमा गएर सपिङ गर्लान् तर सर्वसाधारण नागरिकले किनमेल गर्ने कहाँ? उनीहरूले सस्ता लत्ताकपडा, सस्ता फलफूल, तरकारी र अन्य विभिन्न किसिमका सस्ता सामान खोजी हिँड्ने कहाँ?, मैले यो स्टोरी लेख्ने क्रममा ‘भिन्टेज नेपाल’ नामक ट्वीटरमा सेयर गरिएका काठमाडौंका पुराना फोटोहरू हेरेको थिएँ। काष्ठमण्डपदेखि, असन, इन्द्रचोक र काठमाडौंका अन्य सडक–गल्लीका ती पुराना फोटा र पेन्टिङमा यहाँको खुला बजार संस्कृति छर्लंग देखिन्छ। , काठमाडौंले कसरी सदियौंदेखि सडक व्यापारलाई समाजको अभिन्न हिस्साका रूपमा स्वीकार गर्दै आएको छ भन्ने त्यसले देखाउँछ। उदाहरणका लागि, हेनरी ओल्डफिल्डले सन् १८५०–१८६० दशकमा बनाएको यो पेन्टिङ हेरौं, जसमा काष्ठमण्डप अगाडि खुला तरकारी बजार चलेको देखिन्छ।, इन्द्रचोक आकाशभैरव अगाडि बिक्रम सम्बत् २०१६ सालमा खिचिएको माथिको अर्को तस्बिर पनि हेरौं।, यी दुवैले काठमाडौंको समावेशी चरित्र झल्काउँछन्। बालेनको 'ठेला हटाऊ' अभियानले काठमाडौं सभ्यताको यही आत्मा मार्दैछ।, यसलाई अब अर्को कोणबाट पनि हेरौं। यी सडक व्यापारीहरू, जो दिनभरि सडक किनार ठेला चलाएर, हामीलाई सस्तो सामान उपलब्ध गराएर आफ्नो गुजारा चलाउँछन्, यी कहाँ बस्छन्? यिनको थातथलो कहाँ छ? के यिनीहरू हरेक दिन गाउँबाट व्यापार गर्न काठमाडौं आउने हुन्? कि यतै बस्छन्?, यिनीहरू सबै काठमाडौंकै बसोबासी हुन्। काठमाडौंका विभिन्न ठाउँमा डेरा लिएर सपरिवार बस्छन्। यिनका केटाकेटी यतैका स्कुलमा पढ्छन्। खासगरी काठमाडौं कोर–सिटीका पुराना घरहरूमा सस्तो भाडा तिरेर यस्ता व्यापारीहरू ठूलो संख्यामा बस्ने गरेको हामी पाउँछौं।, मेयर बालेन शाहले भनेजस्तै यी साना व्यापारीहरूलाई उनीहरूको ठेला, नाङ्लो र डोको खोसेर रोजगारविहीन बनाउने हो भने उनीहरू पक्कै पनि महिनाको चार–पाँच हजार भाडा तिरेर काठमाडौंमा बस्न सक्दैनन्। आफ्ना केटाकेटी पढाउन सक्दैनन्। यसले रोजीरोटीको खोजीमा काठमाडौं पसेको परिवारको सपना त मर्छ नै, सँगसँगै काठमाडौंमै घर भएका र ती सडक व्यापारीलाई भाडामा राखिरहेका परिवारको जीवनयापनमा पनि असर पर्छ। उनीहरूको कमाइ घट्छ, कमाइ घटेपछि उपभोग घट्छ, खर्च पनि घट्छ। र, अन्ततः काठमाडौंको अर्थतन्त्र नै डाँवाडोल हुन्छ।, त्यसैले, काठमाडौंजस्तो गाउँ–सहर, धनी–गरिब मिलेर बनेको मिश्रित समाजबाट गाउँलेहरूलाई पन्छाउनु, गरिबहरूलाई हटाउनु भनेको सिँगो सहरकै भविष्य सखाप पार्नु हो — काठमाडौंकै भविष्य सखाप पार्नु हो।, के मेयर बालेन शाहले कल्पना गरेको सहर यस्तै हो?, हो भने, पढाइ र पेसाले स्ट्रक्चरल इञ्जिनियर बालेन शाहले काठमाडौंको समाजशास्त्र र अर्थशास्त्र बुझेकै छैनन्। काठमाडौं मात्र किन, उनले कुनै पनि सहरको समाजशास्त्र र अर्थशास्त्र बुझेका छैनन्। उनलाई सहर बनाउने इञ्जिनियरिङ थाहा होला तर त्यसको सामाजिक र आर्थिक अन्तरवस्तुबाट उनी अज्ञान देखिन्छन्।, बरू रमा खत्रीले आफ्नो अनुभवका आधारमा काठमाडौंको यो अन्तरवस्तु बुझिसकिन्।, मसँग लगातार बोल्दै गर्दा उनले भनेकी थिइन्, ‘जसरी ठेला चलाएर हाम्रो रोजीरोटी चलेको छ, हामीसँग तरकारी किन्नेले पनि त सस्तोमा खान पाएका छन्। महँगी अहिल्यै यस्तो छ, महानगरले हामी सडक व्यापारीहरू सबैलाई हटाइदियो भने महँगी कहाँ पुग्ला? के त्यसपछि सबैले ठुल्ठूला पसलमा किनेर खान सक्लान् त?’, उनले बालेन शाहलाई महानगरको उद्देश्य पनि पूरा हुने र गरिब सडक व्यापारीको जीविका पनि चल्ने मध्यमार्ग सुझाएकी छन्, ‘हामीलाई दिनभरि पसल थाप्न दिनुपर्दैन। कम्तिमा बिहान ९ बजेसम्म र बेलुकी ५ बजेसम्म राख्न दिए हुन्छ।’, उनले अगाडि भनिन्, ‘अनि हामीबाट खोसेर लगेको ठेला फिर्ता गरे हुन्छ। त्यो त हाम्रो रोजीरोटी हो। त्यो ठेला महानगरलाई के काम? कस्तो सरकार होला त्यो, जसले आफ्ना जनताको रोजीरोटी खोसेर लैजान्छ?’, रमा खत्रीसँग लामो कुराकानीपछि म उनको झुप्रोबाट अगाडि बढेँ।, म्हेपी मन्दिर नजिक मूल सडकभन्दा अलि भित्र दुइटा ठेलामा समोसा, चाट, आलुचप बेचिँदै थियो। वरिपरि केटाकेटीहरू झुम्मिएर कागजको प्लेटमा समोसा खाँदै थिए। म एकछिन चुपचाप उभिएर हेरिरहेँ। अनि नजिक गएर एक जना ठेलावालालाई नगर प्रहरीहरूको कारबाहीबारे सोधेँ।, जोसँग मैले कुरा गरेँ, उनको नाउँ रहेछ बिक्रम बुढाथोकी। उमेर, ३० वर्ष।, बिक्रम बुढाथोकी, बिक्रम पाँच वर्षअघि रोल्पाबाट काठमाडौं आएका हुन्। उनी फिल्म क्षेत्रमा काम गर्ने सपना बोकेर यहाँ आएका थिए। केही समय संघर्ष गरेर टेलिसिरियल र म्युजिक भिडिओहरूमा काम पनि गरे। उनले लेखन र निर्देशन गरेको सिरियल ‘नक्कली बुहारी’ युट्युबमा हेर्न पाइन्छ। उनले केही सिरियल र म्युजिक भिडिओहरूमा छायांकन पनि गरेका छन्।, उनको फिल्मी करिअर राम्ररी नै अगाडि बढ्दै थियो। तर कोरोना लकडाउन उनको करिअर र जिन्दगीमा अभिशाप बनेर आयो।, कोरोना महामारीले फिल्म क्षेत्र प्रभावित भएपछि उनले काम पाउन छाडे। धेरै प्रयास गर्दा पनि काम नभेटेपछि उनले विभिन्न परिकार बनाउने आफ्नो खुबीलाई नै रोजीरोटीमा परिणत गरे। र, ठेला राखेर होटल व्यवसाय गर्न थाले।, ‘इच्छा गरेको काम पाइएन, त्यसपछि त हातमा जे–जे सीप छ, त्यही–त्यही गर्ने न हो,’ बिक्रमले भने, ‘मलाई पकाउन आउँथ्यो, मैले ठेलामा होटल चलाएँ।’, यो होटल व्यवसायबाट कमाइ राम्रै भइरहेको थियो। उनले हालसालै बिहे पनि गरे। अहिले श्रीमान र श्रीमती दुवै मिलेर ठेलाको होटल सम्हाल्दै आएका छन्। पछिल्लो समय नगर प्रहरीको धरपकड बढेपछि भने बिक्रमको छट्पटी पनि बढ्न थालेको छ।, गत साता महानगरको कारबाहीमा बिक्रमको एउटा ठेला पनि लुटिएछ, सर-सामानसहित। उनी ती सामान फिर्ता पाइएला कि भनेर भोलिपल्टै टेकु पुगेछन्। हारगुहार गरेछन्। तर महानगरले उनको ठेला फिर्ता गरेन। ग्यास सिलिन्डर चाहिँ पाँच सय रूपैयाँ जरिवाना लिएर छाडेछ।, जुन ठेला महानगरले खोसेर लग्यो, त्यो उनले २२ हजार रूपैयाँ तिरेर नयाँ किनेका हुन्। अहिले जुन ठेलामा उनी घुम्ती होटल चलाउँदै छन्, त्यो ११ हजारमा सेकेन्डह्यान्ड किनेको उनी बताउँछन्।, ‘दुइटा ठेला थियो, एउटा लग्यो,’ उनले भने, ‘यो पनि लग्यो भने चाहिँ यस्तो काम गर्दिनँ।’, ‘अनि के गर्नुहुन्छ त? रोल्पा फर्कनुहुन्छ?’, ‘के गर्नु रोल्पा फर्केर!’ उनले जवाफ दिए, ‘जमिन्दारको सन्तान परिएन। भएको जग्गा–जमिनले खान पुग्दैन। हामी गरिबसँग त सपना मात्र हुन्छ। हामी सपना देख्छौं र त्यही सपना पछ्याउँदै सहर आउँछौं। सहरले कहिले स्याहार्छ, कहिले लघार्छ। जस्तो अहिले महानगरले हामीलाई लघार्दैछ।’, ‘त्यसो भए के गर्नुहुन्छ त?’ मैले फेरि सोधेँ।, ‘विदेश जान्छु, अरू के गर्नु?’ उनले भने, ‘आफ्नो देशमा गरिखान पाइएन, अरू के उपाय छ र? कहिलेकाहीँ त मलाई यो देश नै हामी गरिबहरूको होइन कि जस्तो पो लाग्छ!’, बिक्रम बुढाथोकी एकछिन निकै भावुक देखिए। धन्न उनको ठेलामा आलुचप खान दुई जना किशोरीहरू आए। उनी तिनका लागि आलुचप तार्न व्यस्त भए, चुपचाप।, म उनीसँग विदावारी भई अगाडि बढेँ।, मैले बिक्रमलाई पनि आफूसँग भएको भिडिओ क्लिप देखाएको थिएँ। भिडिओमा देखिने महिला, जो बर्को ओढेर आँशु झार्दै थिइन्, उनी कहाँ भेटिएलान् भनेर सोधेको थिएँ। बिक्रमले उनलाई चिन्दा रहेछन् तर नाम–ठेगाना थाहा रहेनछ। उनले भनेका थिए, ‘ठ्याक्कै त थाहा छैन तर अहिले बेलुकीतिर म्हेपी मन्दिर आसपास भेटिन सक्नुहुन्छ।’, मैले उनले भनेअनुसार म्हेपी मन्दिरको थुम्को परिक्रमा गरेँ। त्यही क्रममा केही महिला र पुरूषहरू कोही फुटपाथमा बसेर, कोही ठेला र साइकलमा तरकारी बेच्दै गरेको देखेँ।, मैले त्यहाँ देखिएका अनुहार भिडिओ क्लिपसँग भिडाउन खोजेँ। ती महिला त्यहाँ देखिइनन्।, तर यहाँ अर्को संयोग भयो।, तपाईंहरूले त्यो भिडिओ हेर्नुभएको छ भने, त्यसमा एक जना महिला नगर प्रहरीबाट ठेला जोगाउन दगुर्दै गएको र दुई जना महिलाले ठेला घचेट्दै भाग्न खोज्दा भ्यानमा ठोक्किएको दृश्य देख्नुहुन्छ। यसरी नगर प्रहरीबाट ठेला जोगाउन भागाभाग गर्ने दुई महिलामध्ये एक जनासँग मेरो त्यहीँ जम्काभेट भयो।, नाम– श्यामवती मेहता। उमेर– ४० वर्ष। घर– इनरूवा, सुनसरी।, श्यामवती मेहता, मैले उनलाई आफ्नो मोबाइलको भिडिओ क्लिप देखाएँ। उनले ती दुईमध्ये एक जना आफू भएको पुष्टि गरिन्।, ‘म ठेलामै थिएँ। मलाई नगर प्रहरीहरू ठेला खोस्न आएका छन् भन्ने थाहा थिएन। ढुंगेअड्डातिरकी एक जना साथीले चाल पाएर मेरो ठेला बचाउन दौडिएर आइन्। उनको पछि पछि महानगरको गाडी पनि आयो। हामी दुई जनाले बल गरेर ठेला दौडायौं,’ उनले भनिन्।, ‘अनि?’, ‘मैले ठेला जोगाउन सकिनँ,’ उनले खिन्न मानिन्।, ‘तपाईंहरू भाग्दा एउटा भ्यानमा ठोक्किनुभएको थियो नि,’ मैले सोधेँ।, ‘हो ठोक्किएको थिएँ,’ उनले देब्रे पाखुरा मुसार्दै भनिन्, ‘त्यो बेला त केही थाहा भएन, पछि चाहिँ पाखुरा अलि अलि दुख्यो।’, ‘त्यति गर्दा पनि ठेला जोगाउन सक्नुभएन है!’, ‘ठेला घचेट्दै हामी कति पर भाग्न सक्थ्यौं र!’ उनले भनिन्, ‘एकछिनमै नगर प्रहरीहरू गुटुटुटु आइपुगिहाले र तरकारी जम्मै फालेर ठेला उठाएर लगिहाले।’, मैले त्यस दिन श्यामवतीलाई बचाउन दौडिएकी ढुंगेअड्डाकी महिलालाई पनि भेट्न चाहेको थिएँ तर उनी आएकी रहिनछिन्। बर्को ओढेर रूँदै गरेकी महिला पनि बजारबाट अलप थिइन्। मैले आफूले भेटेका सबैलाई मेरो नम्बर टिपाएर आएको छु र कसैगरी उनी भेटिइन् भने मसँग सम्पर्क गराउनू भनेको छु। यो स्टोरी लेख्दासम्म कसैको फोन आएको छैन।, ‘अब त यस्तै होला, एक ठाउँमा बसेर व्यापार गर्न गाह्रो भयो। अहिले म आरामले बसेर बेचिरहेको छु, तुरून्तै यहाँ खल्बली मच्चिनसक्छ। भागदौड हुनसक्छ,’ श्यामवतीले भनिन्।, हुन पनि श्यामवतीका आँखा निकै चनाखा देखिन्थे। उनी साग बेच्दै गर्दा घरि दायाँ हेर्थिन्, घरि बायाँ। प्रत्येक ग्राहकलाई सागसब्जी थमाएपछि पैसा लिन र फिर्ता गर्न उनलाई हतार हुन्थ्यो। ताकि, नगर प्रहरी आइपुगिहाले पैसा असुल नगरीकनै भागाभाग गर्नुपर्ने नौबत नआओस्!, श्यामवती काठमाडौं आएको सात वर्ष भयो। उनका श्रीमान र दुई जना छोरा वैदेशिक रोजगारमा गएका छन्। उनी काठमाडौंमा तरकारी बेचेर जीविका गर्दै छिन्।, ‘श्रीमान, छोराछोरी विदेश गएका छन् भनेर आफू चुपचाप घर बस्नलाई म कहाँकी महारानी हुँ र?’ उनले भनिन्, ‘मैले पनि त केही न केही कमाइ गर्नुपर्‍यो।’, उनी यसरी तरकारी बेचेर महिनाको १० हजार रूपैयाँजति कमाउँछिन्। अहिले महानगरको कारबाहीपछि भने कमाइ घटेको छ।, ‘ठेलामा भए घर–घरै गएर बेच्न पाइन्छ,’ उनले भनिन्, ‘फुटपाथमा बसेर बेच्दा व्यापार कम हुन्छ।’, रमा खत्री, बिक्रम बुढाथोकी र श्यामवती महतो मेयर बालेन शाहको अभियानबाट प्रताडित केही प्रतिनिधि पात्र हुन्। यस्ता पात्र थुप्रै छन् काठमाडौंका सडक, गल्लीहरूमा जसको झलक महानगरको अभियान नित्य फलो गरिरहेका युट्युब भिडिओहरूमा देख्न सकिन्छ।, ती सबै भिडिओ हेर्दा मेयर बालेन शाह ‘परपीडक’ जस्तो लाग्छ, जो काठमाडौंमा जीविका गरिरहेका गरिबहरूलाई रूवाइरहेका छन्। र, काठमाडौंको सौहार्द, समावेशी र सहभागितामूलक सभ्यता मार्दैछन्।, ती भिडिओमा काठमाडौंका नगर प्रहरीहरूमा पलाएको दम्भ र अहंकार पनि झल्किन्छ, जो सहरका नागरिकको मुखैनिर औंला तेर्स्याएर ‘मुख सम्हालेर बोल’ भन्दै धम्क्याउँदै छन्। नागरिकलाई धकेलाधकेल गर्दै छन्। उनीहरूसँग घम्साघम्सीमा ओर्लिएका छन्।, स्थानीय नागरिकसँग सहकार्य र सहभागितामूलक ढंगले काम गर्ने भनी नगर प्रहरीको परिकल्पना गरिएको हो। त्यसैले उनीहरूलाई हतियारका नाममा लट्ठीबाहेक अरू केही दिइएको छैन। तर तिनै नगर प्रहरी अहिले नागरिकहरूसँग यति रूखो लवजमा बोलिरहेका सुनिन्छन्, त्यति रूखो त जनपद वा ट्राफिक प्रहरीको पनि कहिल्यै सुनिएको थिएन।, महानगरले वा महानगर प्रहरीले खेदे पनि, लछारपछार पारे पनि, उनीहरूको ठेला खोसे पनि, तरकारीको नाङ्लो हुत्याए पनि सडकमा संघर्ष गरेर जीवन निर्वाह गर्नेहरू कहीँ जाने छैनन्। किनभने, उनीहरूको जाने ठाउँ नै कहीँ छैन। बाँच्ने अर्को ठाउँ छैन, आधार छैन। उनीहरू लुकेर, छेलिएर व्यवसाय गर्लान्, प्रहरी आउलान् कि भनेर आँखा तन्काउलान्, कान ठाडा पार्लान् तर उनीहरू भागेर कतै जान्नन्। महानगरको यो धरपकडले उनीहरूको थाप्लोमा दु:ख र हैरानी थप्छ मात्र। सडकले जुन आश्रय उनीहरूलाई दिएको छ, अरूले दिन्नन्। जुन दिन जीवन धान्ने अर्को ठाउँ, अर्को उपाय उनीहरूले पाउलान् वा बनाउलान्, त्यस दिन उनीहरू पनि अरू धेरैजस्तै सडकको बटुवा मात्र बन्नेछन्। सडकमै जीवन बिताउने कसम खाएर उनीहरू आज बालेनका नगर प्रहरीसँग लडिरहेका कहाँ हुन् र!, सडक व्यापारीहरूका लागि जीवनको एउटा ठूलो विडम्बना यो हो, उनीहरूको संघर्ष, उनीहरूको विवशता र उनीहरूको आँशुको मूल्य जुन र्‍यापर बालेनले बुझेको थियो, आज महानगरको घुम्ने कुर्सीमा त्यो बालेन छैन।, राजनीतिमा आउनुभन्दा अगाडि बालेनले धेरै र्‍याप गाए। तीमध्ये एउटा र्‍याप बालेनको विम्ब बन्यो - ,‘गरिबको चमेली बोल्दिने कोही छैन।’, पञ्चायतविरूद्ध राजनीतिक आन्दोलन क्रममा राल्फा समूहले सिर्जना गरेको यो गीतले गरिबहरूलाई सदियौंदेखिको गरिबी र उत्पीडनबाट मुक्त गर्ने भाव बोकेको छ। बालेनले गरिबी र उत्पीडनविरूद्धको त्यो आगोलाई र्‍यापमार्फत् नयाँ पुस्तामा पुर्‍याए।, सायद त्यसले पनि उनलाई महानगरको कुर्सीमा पुर्‍याउन मद्दत गर्‍यो।, तर आज मेयर बालेनका कृत्यहरूले काठमाडौं सहरलाई गरिबीबाट होइन, गरिबहरूबाट मुक्त गर्न खोजेको छ।, उनको अभियानले सदियौंदेखि गरिबहरूलाई आश्रय र बाँच्ने आशा दिँदै आएको काठमाडौं सहरको आत्मा मार्दैछ।, महानगरमा लखेटी-लखेटी ठेला खोसिएकाहरूको कथा
सेतोपाटी संवाददाता काठमाडौंमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्‍यु भएको छ।, बिहीबार बिहान काठमाडौं महानगरपालिका-१५ स्वयम्भू ठाडो भर्‍याङमा दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ। , बा.१ प ७६३ नम्बरको पर्यटक बसले बाग्मती प्रदेश ०२-०१८ प ४९४० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। ठक्करबाट सिन्धुली मरिण गाउँपालिका-३ बस्ने २२ वर्षीय निर्मल लामाको मृत्यु भएको हो। , दुर्घटनामा गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको बताएको छ।,  , स्वयम्भूमा पर्यटक बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
सेतोपाटी संवाददाता राष्ट्रिय मानव अधिकार आयोगले आपराधिक घटनामा दोषी ठहर भई सजाय भोगिरहेकालाई उन्मुक्ति दिन ल्याएको अध्यादेशप्रति आपत्ति जनाएको छ।, बुधबार आयोगले आपराधिक घटनाका दोषी नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई उन्मुक्ति दिन ल्याइएको अध्यादेशप्रति गम्भीर ध्यानाकर्षण भएको आयोगका प्रवक्ता टीकाराम पोखरेलले जानकारी दिए।, उनका अनुसार नेपाल सरकारले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ११६ मा भएको विद्यमान प्रावधानमा ल्याएको अध्यादेशप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।, ‘अध्यादेशको प्रावधानले अदालतको निर्णय/फैसलाबाट दोषी किटान भएका र गम्भीर मानव अधिकार उल्लङ्घन र फौजदारी कसुरका मुद्दाहरू समेत फिर्ता लिने वा आममाफी दिने सम्भवना रहन्छ। उक्त कार्यले विधिको शासन, लोकतन्त्र र पीडितको स्वच्छ न्यायमा असर पर्नुका साथै दण्डहीनतालाई समेत प्रश्रय पुग्ने देखिन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यसबाट मानव अधिकार संस्कृतिको निर्माणमा गम्भीर चुनौती सिर्जना भएको छ।’, जुनसुकै उद्देश्यले गरेको कार्य भए पनि प्रचलित कानूनको दृष्टिमा अपराध भएको र उक्त आपराधिक कार्यको दायित्व अपराध गर्ने व्यक्तिले नै लिनुपर्ने आयोगले जनाएको छ।, यस्तै, आयोगले आपराधिक ठहर भएको व्यक्तिले कानून बमोजिम कारबाही हुनुपर्ने भनाइ छ।, आपराधिक घटनालाई राजनीतिक दृष्टिले मात्र हेर्दै जाने गए नागरिकहरूको राज्यप्रतिको आशा एंव भरोसा टुट्दै जाने अवस्था सिर्जना हुने आयोगले बताएको छ।, आपराधिक घटनाका दोषीलाई उन्मुक्ति दिई दण्डहीनतालाई प्रश्रय नदेऊ : मानव अधिकार आयोग
नवीनबाबु गुरूङ काठमाडौं महानगपालिकाले २८ औं महानगर दिवस मनाएको छ। , बसन्तपुर डबलीमा आयोजित २८ औं काठमाडौं महानगर दिवसको उपलक्ष्यमा नेपाल डान्स एकेडेमीले थारू, गुरूङ, नेवारी संस्कृति झल्किने नृत्य प्रस्तुत गरेको थियो। , उक्त कार्यक्रममा सहरी विकास मन्त्री मेटमणि चौधरी, ललितपुरका मेयर चिरीबाबु महर्जन र काठमाडौं- २ की नवनिर्वाचित सांसद सोविता गौतमको उपस्थिति थियो। , यसपटक महानगरले सप्ताह व्यापी रूपमा विभिन्न कार्यक्रम आयोजना गरेको थियो। , यस्तै, महानगरले विभिन्न विभागबाट राम्रो काम गरेका व्यक्तिहरूलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो।, विभिन्न संस्कृति झल्किने हस्तकला सामग्री प्रदर्शनमा राखिएको छ।, यस्तै, नेवारी परिकार य:मरि, बारा, समयबजी पनि राखिएको छ।, तस्बिरहरू:,  , यसरी मनाइयो २८ औं महानगर दिवस (तस्बिरहरू)
सेतोपाटी संवाददाता सशस्त्र प्रहरी बल, नेपालले मंगलबार एकैपटक आठ हजार ४८८ जना जवानको सरूवा गरेको छ। , सरुवा गर्न केही समय अघि देशभरका जवानहरूलाई उनीहरूको प्राथमिकता अनुसार तीन वटा युनिटको नाम लेखाएर फारम भराएको थियो।, सोही अनुसार सम्भव भएसम्म माग गरे बमोजिमको कार्यालयमा र सम्भव नभए नजिकको अर्को युनिटमा सरुवा गरिएको सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। , यस्तै सीमावर्ती इलाकाका युनिटहरूमा लामो समय दरबन्दी भएका जवानहरूलाई सीमा इलाका बाहेक अन्यत्र सरुवा गरिएको छ।, सरुवाको लागि मुख्यालयस्थित उजुरी तथा गुनासो सुनुवाइ शाखामा प्राप्त निवेदन तथा गुनासोलाई समेत उच्च प्राथमिकतामा राखिएको थियो।, यस्तै मुख्यालयमा दरबन्दी माग गरेका ४५ जना जवानलाई समेत प्राथमिकतामा राखेर सरुवा गरिएको डिएसपी थापाले बताए। , उनका अनुसार घर भएको जिल्लामा सरुवा नगरी सम्भव भएसम्म नजिकको जिल्ला र त्यो नभएमा नजिकको प्रदेशमा समेत मिलाएर सरुवा गरिएको हो।, विगत देखिकै सरुवा सम्बन्धी गुनासोलाई सम्बोधन गर्दै श्रीमान श्रीमतीलाई सम्भव भएसम्म एउटै कार्यालयमा सरुवा गरिएको छ।, मुख्यालयले फारम भराएर जवानहरूको इच्छा अनुसारको कार्यालयमा सरुवा गरेको यो पहिलो पटक हो। यसबाट तल्लो दर्जाको कर्मचारीको मनोबल उच्च हुने र आगामी दिनमा सरुवा सम्बन्धी गुनासो समेत कम हुँदै जाने विश्वास मुख्यालयको छ।, एकैपटक साढे आठ हजार जवानको सरुवा, फारम भराएर गरियो सरुवा
सविना कार्की राम्रा सामुदायिक स्कुल, काठमाडौंको बाफलस्थित ज्ञानोदय माध्यमिक विद्यालय काठमाडौं महानगरपालिकाको 'एक वडा एक नमूना विद्यालय' अन्तर्गत वडा नम्बर १३ को नमूना स्कुल हो।, यो स्कुलमा हाल साढे चार हजार विद्यार्थी छन्। पाँचवटा आकर्षक भवन छन्। सबै कक्षाकोठामा विद्यार्थी खचाखच छन्। शैक्षिकसँगै व्यावहारिक सिकाइ र उच्च प्रविधिका प्रयोगशाला ज्ञानोदयको खास विशेषता हो।, प्रधानाध्यापक नातिकाजी महर्जनका अनुसार हरेक वर्ष कम्तीमा चार सय जना विद्यार्थी थपिन्छन्। २०५२ सालयताको एसएसलसी परीक्षा र हालको विद्यालय शिक्षा परीक्षा (एइसइई) मा उत्तीर्ण नतिजा शतप्रतिशत छ। कक्षा ११ र १२ को पनि नतिजा लोभलाग्दो छ। , शिक्षण सिकाइमा इन्टरनेटसहितको आधुनिक प्रविधि प्रयोग हुन्छ। यस्तो विद्यालय महानगरको नमूना त हुने नै भयो तर ज्ञानोदय भने देशका सामुदायिक स्कुलहरूकै नमूनाका रूपमा चिनिन्छ। , हरेक विद्यार्थी थपिनुको मुख्य कारण प्रविधिमैत्री शिक्षण, उच्च स्तरीय प्रयोगशाला र विद्यार्थीको राम्रो नतिजा नै हो भन्छन् प्रधानाध्यापक महर्जन। उनका अनुसार विद्यालयमा आइसिटी प्रयोगशाला, होटल म्यानेजमेन्ट प्रयोगशाला र विज्ञान प्रयोगशाला छन्। प्रयोगशालामा विषयअनुसार सिकाइ हुने हुँदा यसप्रति विद्यार्थीको चाहना बढेको छ।, 'विद्यालयमा यी प्रयोगशाला बनेपछि विद्यार्थीको संख्या बढ्दै गयो,' प्रधानाध्यापक महर्जनले भने, 'प्रयोगशालाले विद्यार्थीको सिकाइमा ठूलो मद्दत गरेको छ।', आइसिटी प्रयोगशालामा जुनसुकै कक्षाका विद्यार्थी पनि पढ्न पाउँछन्। यो प्रयोगशाला अडिओ-भिजुअल प्रस्तुतीकरणका लागि प्रयोग हुन्छ। इन्टरनेटको मद्दतले गुगलमा खोजेर निकालेका उपयोगी सामग्री र पावर प्वाइन्ट स्लाइड यसमा डिस्प्ले गरिन्छ। यसले विद्यार्थीको सिकाइ प्रभावकारी बनेको प्रधानाध्यापक महर्जनको भनाइ छ। आइसिटीसँग जोडेर प्रभावकारी शिक्षण गर्न स्मार्ट बोर्ड प्रयोग गरिन्छ। , विद्यालयले २०६५ सालमा कम्प्युटर शिक्षा सुरू गरेको हो। त्यति बेला कक्षा ४ देखि ८ सम्मका विद्यार्थीका लागि कम्प्युटर कक्षा अनिवार्य गरिएको थियो। कम्प्युटर कक्षाप्रति विद्यार्थी र अभिभावकको रूचि बढ्दै गयो। हाल कम्प्युटर कक्षा सञ्चालनका लागि प्रयोगशाला बनाइएको छ। शिक्षकहरूले अत्याधुनिक स्मार्ट बोर्ड र ट्याबलेट प्रयोग गर्छन्।, 'विद्यालयले सिकाउनुपर्ने कुरामा कुनै कन्जुस्याइँ गरेका छैनौं। गुणस्तरीय र प्रभावकारी शिक्षण सिकाइ गरेका छौं,' महर्जन भन्छन्, 'विभिन्न जिल्लाका विद्यालयबाट शिक्षकहरू आएर अवलोकन गर्नुहुन्छ। व्यवस्थापनबारे छलफल गर्नुहुन्छ।', ज्ञानोदय अन्य विद्यालयका लागि अवलोकन र सिकाइको माध्यम पनि बनेको छ। सामुदायिक विद्यालयहरूले शैक्षिक गुणस्तर, प्रविधि लगायतका कुरा सिक्ने अवसर पाएका छन्। ज्ञानोदयमा पूर्वप्राथमिकको नर्सरीदेखि कक्षा १२ सम्म पढाइ हुन्छ। कक्षा ११ र १२ मा विज्ञान, कानुन र व्यवस्थापन संकायमा पढाइ हुन्छ। कक्षा ९ देखि १२ सम्म प्राविधिक धारअन्तर्गत सिभिल इञ्जिनियरिङ विषय पनि पढाइ हुन्छ। , ज्ञानोदयमा विद्यार्थीहरू १०४ वटा कक्षाकोठामा पढ्छन्। एउटा कक्षामा ६० जनासम्म विद्यार्थी अटाएका छन्। विद्यार्थीको संख्या धेरै भएकाले हरेक कक्षामा समूह विभाजन गरिएको छ। कम्तीमा ३ देखि बढीमा ९ वटासम्म समूह अर्थात वर्ग (सेक्सन) मा विभाजन गरिएको छ। सबैभन्दा धेरै विद्यार्थी कक्षा नौ र दशमा छन्।, 'यी दुई वटा कक्षामा चार–चार सय विद्यार्थी छन्,' उनले भने, 'विद्यार्थी संख्या बढी भएकाले यी दुवै कक्षालाई नौ–नौ वटा समूहमा विभाजन गरेका छौं।', प्रधानाध्यापक महर्जनका अनुसार ज्ञानोदयले २०५२ सालको एसएलसी परीक्षामा शतप्रतिशत उत्तीर्णको नतिजा ल्यायो। यस्तो नतिजा आजसम्म कायम छ। , यो सफलताको बिउ रोप्ने काम २०३८ सालमै भएको थियो। तत्कालीन प्रधानाध्यापक रेवरत्न बज्राचार्यले त्यस वर्ष पूर्वप्राथमिक कक्षा सुरू गरेका थिए। पूर्वप्राथमिक तह नभई विद्यार्थीको जग बलियो हुँदैन भन्ने उनको धारणा थियो। यो पूर्वप्राथमिक कक्षा नै विद्यालयमा प्रगतिको पहिलो कोसेढुंगा साबित भयो। पहिलो पटक पूर्वप्राथमिक कक्षामा भर्ना भएका विद्यार्थीले २०५२ सालमा एसएलसी परीक्षा दिए। तिनै विद्यार्थी शतप्रतिशत उत्तीर्ण भए। , प्रधानाध्यापक महर्जनका अनुसार त्यसअघि वार्षिक औसत ३६ प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण भएका थिए। , 'एसएलसीमा शत प्रतिशत विद्यार्थी पास भएपछि ज्ञानोदयलाई हेर्ने अभिभावकको नजर फेरियो,' उनले भने, 'त्यसयता विद्यार्थीको संख्या बढिरहेको छ। राम्रो निजी स्कुललाई पनि चुनौती दिने ज्ञानोदय बनाउने काम बज्राचार्य सरबाटै सुरू भएको हो।' , प्रधानाध्यापक महर्जन २०४६ सालमा शिक्षकका रूपमा विद्यालय प्रवेश गरेका थिए। उनी कक्षा ६ र ७ मा गणित र विज्ञान विषय पढाउँथे, २०४८ सालमा माध्यमिक शिक्षक भए। त्यस बेला विद्यालयमा करिब ९ सय विद्यार्थी थिए। कक्षाकोठाको क्षमताअनुसार त्यति विद्यार्थी पनि धान्न मुश्किल थियो। सामुदायिकबाट निजी स्कुलमा जाने प्रवृत्ति बढिरहँदा ज्ञानोदयले २०६८ सालमा अंग्रेजी माध्यममा पढाउन सुरू गर्‍यो। यसको परिणाम निकै सकारात्मक देखियो। आसपासका निजी विद्यालयका विद्यार्थी ज्ञानोदयमा आउन थाले।, 'बिस्तारै ज्ञानोदयमा अंग्रेजी माध्यमको प्रभावकारिता देखियो। नतिजा पनि राम्रो हुँदै गयो,' प्रधानाध्यापक महर्जनले भने, 'विद्यालयका लागि विद्यार्थीको नतिजा महत्त्वपूर्ण कुरा रहेछ।', ज्ञानोदयमा पढ्न चाहने विद्यार्थीले शैक्षिक वर्ष सुरू हुनुअघि प्रवेश परीक्षा दिनुपर्छ। उत्तीर्ण हुनेले मात्रै भर्ना पाउँछ। शिक्षक-अभिभावक संघका अध्यक्ष सागरराज कुँवरका अनुसार विद्यालयको भौतिक, शैक्षिक, सामाजिक लगायत सबै पक्षको अनुगमन हुन्छ। हरेक कक्षाका लागि इन्चार्ज तोकिएका छन्। , 'कुनै समस्या भए हामी विद्यालय व्यवस्थापन समितिलाई सुझाव दिन्छौं,' कुँवरले सेतोपाटीसँग भने, 'पढ्ने वातावरण बनाउन हामी सबै लागिपरेका छौं।' , कुँवरका छोराछोरी ज्ञानोदयमै पढ्छन्।, 'ज्ञानोदय काठमाडौंको एउटा यस्तो सामुदायिक विद्यालय हो जहाँ पढ्न शैक्षिक सत्र सुरू हुनु केही महिनाअघि नै भर्ना सुरू हुन्छ,' उनी भन्छन्, 'यहाँ पढ्न नपाएर जानेहरू पनि धेरै हुन्छन्।' , ज्ञानोदयमा नुवाकोट, गोरखा, धादिङ, दोलखा र सिन्धुपाल्चोकका विद्यार्थी धेरै छन्। रूकुम, हुम्ला, जुम्लाका पनि छन्। प्रधानाध्यापक महर्जनका अनुसार विद्यार्थीहरू काठमाडौं उपत्यकाका धेरै ठाउँबाट सार्वजनिक सवारीसाधन चढेर पुग्छन्। , घरबाट विद्यालय आइपुग्न कम्तीमा एक घन्टा लाग्ने विद्यार्थीहरू निकै जना भेटिए। उनी नौ कक्षामा पढ्छन्। कक्षा बिहान साढे ६ बजे सुरू हुन्छ। घरबाट साढे पाँच नबज्दै निस्कन्छन्। , बालाजुबाट आउने एक विद्यार्थीले भने, 'मलाई झन्डै एक घन्टा लाग्छ। घर नजिकै स्कुल भए पनि ज्ञानोदय राम्रो लागेर आएको हुँ।' , निजी स्कुल छाडेर कक्षा नौमा भर्ना भएका विद्यार्थी पनि भेटिए। सामुदायिक विद्यालयबाट पढेका विद्यार्थीले राज्यबाट निजीमा पढेकाले भन्दा बढी सुविधा पाउँछन्। कलंकी घर भएकी एक छात्राले ज्ञानोदय स्कुलको पढाइ र विद्यार्थीको नतिजा निकै राम्रो निजी विद्यालयको भन्दा कम नरहेको बताइन्।, विद्यालयमा नियमित रूपमा शिक्षक–अभिभावक छलफल हुन्छ। यसको चाँजोपाँजो 'शिक्षक अभिभावक' संघले मिलाउँछ। शिक्षा ऐनमा विद्यालयमा शिक्षक अभिभावक संघ रहने प्रावधान छ। , सरोकारवाला टिमहरूको समग्र प्रयासले ज्ञानोदय माध्यमिक विद्यालय राष्ट्रिय स्तरमा चिनिएको प्रधानाध्यापक महर्जन बताउँछन्। उनले विद्यालयमा यस वर्ष हालसम्मै धेरै विद्यार्थी रहेको बताए।, 'एउटा सामुदायिक विद्यालयमा ४५ सय विद्यार्थी सानो संख्या होइन,' उनी भन्छन्, 'विद्यार्थी संख्या मात्र बढाएका छैनौं, शिक्षाको गुणस्तर पनि कायम राखेका छौं।' , ज्ञानोदयमा हाल १०५ जना शिक्षक छन्। यीमध्ये ७० जना सरकारी दरबन्दीमा छन्, बाँकी आन्तरिक स्रोतमा। विद्यालयमा औपचारिक शिक्षणसँगै विद्यार्थीको क्षमता वृद्धि र प्रतिभा प्रस्फुटनका लागि अतिरिक्त क्रियाकलाप हुन्छ। विद्यार्थीको रूचिअनुसारका केही फरक सिप पनि सिकाउने गरेको प्रधानाध्यापक महर्जनले बताए। उनका अनुसार हाल कक्षा ७ का ६० जना विद्यार्थी मादल बजाउन सिक्दैछन्। यसपछि उनीहरूलाई पियानो सिकाउने योजना छ। विद्यालयमा स्काउट गतिविधि पनि हुन्छ। , हाल ज्ञानोदयका १५ वटा कक्षाकोठामा प्रोजेक्टर राखिएको छ। कक्षाकोठा धेरै भएकाले सबैमा राख्न नसकिएको प्रधानाध्यापक महर्जनको भनाइ छ। , '८० वटा सेक्सन छन्। सबैमा प्रोजेक्टर राख्न सम्भव छैन। आवश्यकताअनुसार कक्षामा लैजान मिल्ने गरी राखिएको हो,' उनले भने।, ज्ञानोदयले २०७३ सालमा ब्रिटिस काउन्सिलले दिने 'अन्तर्राष्ट्रिय स्कुल पुरस्कार' पनि पाएको थियो। ब्रिटिस काउन्सिलले एक वर्षमा आठ वटा अतिरिक्त क्रियाकलाप दिएको थियो। ती सबैमा उत्कृष्ट ठहरिएर विद्यालय पुरस्कृत भएको उनले जानकारी दिए।, काठमाडौं महानगरले नमूना विद्यालयलाई अतिरिक्त आर्थिक सहयोग पनि गर्छ। बाहिरी सजावट, हरियाली, भित्ते लेखन जस्ता कामका लागि महानगरले आर्थिक सहयोग गरेको प्रधानाध्यापक महर्जनले बताए। , विद्यार्थी संख्या बढ्दो छ तर विद्यालयमा खेलकुद मैदान छैन। मैदान नहुँदा खेल गतिविधि कम भएको महर्जनको भनाइ छ। पिउने पानी र शौचालयको सुविधा राम्रो छ। खाना र खाजाका लागि सफा क्यान्टिन छ। , अनि पढाइको गुणस्तर उत्तिकै राम्रो।, त्यसैले त ज्ञानोदय देशकै नमूना सामुदायिक विद्यालय भएको छ। , सबै तस्बिरः नवीनबाबु गुरुङ/सेतोपाटी, यी पनि पढ्नुहोस्ः , नौ सय छात्रा पढ्ने काठमाडौंको नमूना सामुदायिक स्कुल, अन्तर्राष्ट्रिय पुरस्कार पाएको काठमाडौंको सामुदायिक स्कुल, उत्कृष्ट ठहरिएको काठमाडौं सामुदायिक स्कुल, पढाइन्छ प्राविधिक शिक्षा, काठमाडौंको सामुदायिक स्कुल जहाँ निजी छाडेर आउँछन् विद्यार्थी, बोर्डिङ भनेर झुक्किने काठमाडौंको यो सामुदायिक स्कुल, दरबार हाइस्कुलमा एक वर्षमै बढे तीन गुणा विद्यार्थी, शिक्षक भने अभाव, , काठमाडौंको एउटा 'नमूना' सामुदायिक स्कुल जहाँ छन् ६५ जिल्लाका विद्यार्थी, साँच्चैको नमूना बन्ने प्रयासमा छ काठमाडौंको यो सामुदायिक स्कुल, ६९ वर्ष पुरानो काठमाडौंको नमूना स्कुल जहाँ पढ्छन् २४ सय विद्यार्थी, साढे ४ हजार विद्यार्थी पढ्ने नमूना सामुदायिक स्कुलको के छ खास विशेषता?
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिका केन्द्रीय कार्यालयदेखि वडा कार्यालयसम्म आज सेवा बन्द रहने भएको छ।, महानगरको प्रशासन विभागले सूचना निकालेर कार्यालयको कामकाज आज बन्द हुने जानकारी दिएको छ।, महानगरले आज (मंसिर २९ गते) २८ औं महानगर दिवस विशेष रूपमा मनाउँदैछ।, ‘काठमाडौं महानगर, मातहतका सबै विभाग/आयोजना/कार्यक्रम/वडा कार्यालयहरू र एकाइहरूबाट प्रवाह हुने सेवा बन्द हुने हुँदा जानकारीका लागि अनुरोध छ,’ महानगरको सूचनामा उल्लेख छ।, आज काठमाडौं महानगरले कामकाज बन्द गर्ने
रासस सर्लाहीको ईश्वरपुर नगरपालिका–९ खोरियाटोलमा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।, ईश्वरपुर नगरपालिका–९ खोरिया टोलमा मोटरसाइकल र ट्र्याक्टर एकापसमा ठोक्किँदा एक जनाको ज्यान गएको प्रहरीले जनाएको छ।, ईश्वरपुर नगरपालिका–९ खोरियाटोलस्थित मोहनपुरबाट बयलवासतर्फ आउँदै गरेको ज ११ प ५८६४ नम्बरको मोटरसाइकललाई बयलवासबाट खोरियाटोलतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ त २४४० नम्बरको  ट्र्याक्टरले ठक्कर दिएको थियो। , उक्त दुर्घटनामा परी मोटरसाइकल चालक महोत्तरीको सोन्मा गाउँपालिका–२ का अन्दाजी वर्ष ३५ का उदयकुमार साहको ज्यान गएको इलाका प्रहरी कार्यालय बयलवास, केशरगञ्जका प्रहरी प्रमुख प्रहरी निरीक्षक रोशन थापाले जानकारी दिए।, दुर्घटनामा संग्लग्न मोटरसाइकल, ट्र्याक्टर र चालकलाई इलाका प्रहरी कार्यालय केशरगञ्ज बयलवासको नियन्त्रणमा राखेर थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ। शव परीक्षणपश्चात पीडित पक्षले मृतक साहको शव बुझेका छन्।, त्यस्तै ईश्वरपुर नगरपालिका–६ राधा कृष्णा मन्दिरको प्रांगणमा एक बेवारिसे शव फेला परेको छ। नाम, थर, वतन खुल्न नसकेको अन्दाजी ३२–३३ वर्षका एक पुरुषको शव फेला परेको इलाका प्रहरी कार्यालय बयलवासले जनाएको छ। शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलंगवाको शवगृहमा राखिएको छ।, दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु
सेतोपाटी संवाददाता कञ्चनपुरमा मानसिक समस्यामा रहेकी १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।, इलाका प्रहरी कार्यालय बेलौरीका अनुसार मानसिक रूपमा अशक्त १७ वर्षीया किशोरीलाई ७ महिनासम्म बलात्कार गरेको खुलेपछि उनीहरूलाई पक्राउ गरिएको हो।, पक्राउ पर्नेमा स्थानीय ३७ वर्षीय साधुराम राना, २२ वर्षीय दीपक बोट र ३३ वर्षीय हरिशंकर बोट छन्।, उनीहरूमाथि जिल्ला अदालत कञ्चनपुरमा जबर्जस्ती करणीको मुद्दा दर्ता गरेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक दानसिंह भण्डारीले बताए।, किशोरी गर्भवती भएपछि बलात्कार भएकोबारे  खुलेको हो।, कञ्चनपुरको बेलौरी नगरपालिका-२ भैंसोरीस्थित ९ कक्षामा अध्ययनरत किशोरीमाथि जेठदेखि पटक पटक बलात्कार भएको अनुसन्धानका क्रममा खुलेको प्रहरी निरीक्षक भण्डारीले बताए।, आइतबार गरिएको स्वास्थ्य जाँचमा किशोरी गर्भवती रहेको पुष्टि भएको प्रहरीको भनाइ छ।, प्रहरीका अनुसार किशोरीको गर्भमा १८ हप्ताको बच्चा रहेको पुष्टि भएको छ।, कञ्चनपुरमा बलात्कार गरेको आरोपमा तीन जना पक्राउ
रासस भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीमा सुनका गरगहना चोरी भएको छ।, यहाँ डेरा गरी बस्ने धनुषा जनकपुर उपमहानगरपालिका–२ का ३२ वर्षीय धीरजकुमार अरगरियाको डेराबाट रु नौ लाख ५० हजार बराबरको सुनको गरगहना चोरी भएको हो।, महानगरीय प्रहरी वृत्त थिमिका अनुसार कोठामा कोही नभएको अवस्थामा अपरिचित व्यक्तिहरूले ढोकाको ताला फुटाई दराजमा रहेको सुनका गरगहना चोरी गरेको पाइएको छ।, घटनाबारे प्रहरीले बिहीबारदेखि अनुसन्धान अगाडि बढाएर चोरीमा संलग्नको खोजी सुरु गरेको प्रहरी वृत्त थिमिको मुद्दा शाखाले जानकारी दिएको छ।, लोकन्थलीमा सुनका गरगहना चोरी
सेतोपाटी संवाददाता चितवन राष्ट्रिय निकुञ्जमा दुईवटा गैंडा मृत भेटिएका छन्।, बुधबार र बिहीबार गस्तीमा गएको टोलीले एक भाले र एक पोथी गैंडा मृत भेटेको निकुञ्जले जनाएको छ। , चितवन निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार बुधबार अमलटारी सेक्टरको कुजौली रेञ्जपोष्टअन्तर्गत नारायणी नदीको किनारमा ५ महिनाको भाले (केटो) गैंडा मृत भेटिएको थियो। उक्त केटोको बाघको आक्रमणबाट मृत्यु भएको उनले जानकारी दिए। , बिहीबार पनि अमलटारी सेक्टरकै लामिचौर पोष्टअन्तर्गतको गुन्द्रही ढका मध्यवर्ती सामुदायिक वन क्षेत्रमा पोथी गैंडा मृत भेटिएको तिवारीले बताए।, बिहान करिब ६ बजेको समयमा गस्ती टोलीले अन्दाजी १५ वर्षको उक्त गैंडा मृत अवस्थामा भेटेको उनले बताए।, अन्दाजी १५ वर्षको पोथीको अर्को गैंडासँग जुधेर मृत्यु भएको अनुमान गरिएको छ।, उक्त गैंडाको खाग र खुर सुरक्षित छ। , चितवन निकुञ्जका अनुसार यस आर्थिक वर्षभित्र ५ वटा एक सिंगे गैंडाको मृत्यु भएको छ।, चितवन निकुञ्जको अमलटारी सेक्टरमा मृत भेटिए दुई गैंडा
सेतोपाटी संवाददाता काठमाडौंको स्वयम्भूमा पर्यटक बसको ठक्करबाट मोटरसाइकल चालक २२ वर्षीय निर्मल लामाको मृत्यु भएको छ। , काठमाडौं महानगरपालिका–१५ स्वयम्भू ठूलो भर्‍याङस्थित सडकमा बा १ प ७६३ नं को पर्यटक बस र बागमती प्रदेश ०२-०१८ प ४९४० नंको मोटरसाइकल एकआपसमा ठोकिँदा मोटरसाइकल चालक सिन्धुलीका लामाको आज बिहान मृत्यु भएको हो। , दुर्घटनामा गम्भीर घाइते भएका लामाको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।, दुर्घटनामा सम्लग्न पर्यटक बसलाई भने प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरेको प्रवक्ता भट्टले बताए।, पर्यटक बसको ठक्करबाट स्वयम्भुमा मोटरसाइकल चालकको मृत्यु
सेतोपाटी संवाददाता विश्वकप फुटबलमा सट्टाबाजी गराएको आरोपमा अर्का एक एजेन्ट पक्राउ परेका छन्। , बेटिङ एप वान एक्स बेट लगायत एपमार्फत् सट्टाबाजी गराएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए। , कार्यालयबाट खटिएको टोलीले बुधबार काठमाडौं महानगरपालिका-२८ कमलपोखरीबाट पक्राउ गरेको हो। , पक्राउ पर्नेमा काठमाडौं-२ टोखा चण्डेश्वरी बस्ने २६ वर्षीय सुजन गौलीलाई पक्राउ गरेको हो। , उनीमाथि मुलुकी अपराध संहिताको दफा १२५ को उपदफा ४ बमोजिम सट्टाबाजी गर्न गराउन नहुने कसुर अन्तर्गत अनुसन्धान अघि बढाएको छ। उनीमाथि थप अनुसन्धान गर्न कार्यालयले उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाएको छ। , एसपी कोइरालाका अनुसार गौली वान एक्स बेटमा सट्टाबाजी गराउने एजेन्ट हुन्।, उनले रकम संकलन र भुक्तानी गरेको आधारमा २५ प्रतिशत कमिसन समेत पाउँथे। जसले गर्दा उनले धेरैभन्दा धेरै जनालाई सट्टाबाजीमा संलग्न गराउने प्रहरीले बताएको छ। , प्रहरीले प्रारम्भिक अनुसन्धानको लागि इसेवा, आइएमइ पे, खल्तीबाट मात्रै दुई करोड ३६ लाख ३३ हजार १३८ रुपैयाँ बराबरको कारोबार गरेको देखिएको छ। , यस्तै, २६ वटा अन्य डिजिटल वालेट तथा बैंकिङ प्रणालीमार्फत् ७ करोड ७२ लाख ८९ हजार ४६ रुपैयाँको कारोबार देखिएको एसपी कोइरालाले बताए।, योसँगै उनको विभिन्न खाताहरूबाट मात्रै १० करोड ९ लाख २२ हजार १८४ रुपैयाँको कारोबार भएको देखिएको छ।  , एसपी कोइरालाका अनुसार उनले १ वर्षदेखि यो काम गर्दै आएका थिए। , यसरी बेटिङको काम सञ्चालन गर्नेहरूको सन्जाल कत्रो छ वा को को हुन् भन्नेबारेमा पनि थाहा पाउन मुश्किल भएको प्रहरीले जनाएको छ।, ‘हामीले पक्राउ गरेका व्यक्तिहरूलाई पनि को-को एजेन्ट हुन् भनेर थाहा छैन भन्छन्। यिनीहरूलाई पनि सामाजिक सञ्जालमा आएको विज्ञापनमार्फत् पछ्याएका हौं,’ उनले भने। , गत मंगलबारमात्रै प्रहरीले ललितपुरको सानेपाबाट एक एजेन्टलाई पक्राउ गरेको थियो।  , विश्वकपमा बेटिङ गराएको आरोपमा अर्का एजेन्ट पक्राउ, देखियो १० करोड बढीको कारोबार
रासस भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतका सबै कानुनलाई एकीकृतरूपमा समयसापेक्ष संशोधन गरी सङ्घीय संसदमा पेश गर्न समिति गठन गरिएको छ।, मन्त्रालयअन्तर्गत समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षसमेत रहेका संविधानविद् काशीराज दाहालको अध्यक्षतामा भूमिसम्बन्धी एकीकृत ऐन कानुन तर्जुमा समिति गठन गरिएको हो।, मन्त्रिपरिषद्को सैद्धान्तिक स्वीकृतिमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले पाँच सदस्यीय समिति गठन गरेकी हुन्। समितिमा नापी विभागका महानिर्देशक प्रकाश जोशी, भूमि तथा अभिलेख व्यवस्थापन विभागका महानिर्देशक पीताम्बर घिमिरे, मन्त्रालयका सहसचिव जनकराज जोशी सदस्य रहेका छन्।, समितिमा मन्त्रालयको भूमि व्यवस्थापन महाशाखा प्रमुख सहसचिव पद्मनिधि सोती सदस्यसचिव छन्।, समितिले मङ्सिर १३ गतेदेखि काम सुरु गरेको हो। देवानी संहिता, उद्योग, पर्यटनलगायत कानुनमा रहेको भूमिसम्बन्धी व्यवस्थालाई एकीकृत गरी संशोधनको प्रस्ताव तयार गर्न लागिएको समितिका सदस्यसचिव सोतीले जानकारी दिए।, अध्ययनका क्रममा ६० भन्दा बढी कानुनमा भूमिसम्बन्धी केही न केही व्यवस्था गरिएको समितिले फेला पारेको छ। ती सबैलाई एकीकृत गरी संशोधन गर्ने गरी प्रस्ताव तयार गरिँदै छ।, विसं २०५२ देखि नै स्थानीय सरकारले मालपोत उठाउन थाले पनि त्यसलाई समेत अझै कानुनमा संशोधन गरिएको छैन। त्यो संशोधन पनि यसैपटक हुने भएको छ।, सरकारले जग्गा सम्बन्धमा गरेका निर्णय र परिपत्रलाई पनि एकीकृत मस्यौदामा समावेश गरिँदै छ। संशोधन प्रस्तावसम्बन्धी प्रतिवेदन पुस दोस्रो साता मन्त्रीसमक्ष बुझाउने तयारी भएको सदस्यसचिव सोतीले बताए।, भूमि बैंक, भूमि बजार, भू–उपयोग, जग्गा प्राप्तिसम्बन्धी व्यवस्थालाई पनि यही मस्यौदामा पार्न लागिएको मन्त्रालयले जनाएको छ।, भूमि व्यवस्थासम्बन्धी कानुनलाई संशोधन गरेर संसदमा पेश गर्दै सरकार
सेतोपाटी संवाददाता शुक्रबार प्रदेश १ का पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, महाशाखाका अनुसार आज (शुक्रबार) देशका पहाडी क्षेत्रमध्ये केही ठाउँमा आंशिक बदली रहनेछ। यस्तै, तराईका भू–भागमध्ये केही ठाउँमा हुस्सु कुहिरो लाग्ने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। , शुक्रबार दिउँसो प्रदेश १,  बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक  बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। , शुक्रबार राति भने देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। , तराईका केही  भू-भागमा बिहानीपख हुस्सु कुहिरो लाग्ने  तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।, यस्तै शनिबार बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक  बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।, शनिबार राति प्रदेश १ र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।, यस्तै आइतबार प्रदेश १,  बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक  बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।, प्रदेश १,  बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक  बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।, प्रदेश १ का पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
सेतोपाटी संवाददाता राष्ट्रिय सडक सञ्जालमा नजोडिएको हुम्लाको चंखेली गाउँपालिकासम्म अब मुगु हुँदै सवारी साधन चल्ने भएका छन्।, मुगुको सदरमुकाम गमगढीबाट हुम्लाको चंखेली गाउँपालिका जोड्ने सडक निर्माण भएर सञ्चालनमा आएको हो।, गमगढीदेखि चंखेली गाउँपालिकाको देउलीसम्म ६७ किलोमिटर सडक निर्माण भएर सञ्चालनमा आएको हो।, निर्माण भएको उक्त सडक कर्णाली प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ।, बेलायती राजदूत निकोला पोलिटले बिहीबार कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई सडक आयोजना हस्तान्तरण गरेकी हुन्।, ३ हजार ३०० मिटर उचाइमा रहेको चंखेली हिमालको डाँडा पार गरेको बनाइएको यो सडकको ६७ किलोमिटरमध्ये ३३ किलोमिटर मुगुमा पर्छ। ४४ किलोमिटर सडक हुम्ला क्षेत्रमा पर्छ। उक्त दूरीभित्र चार वटा मोटरेबल पुल निर्माण गरिएको छ।, बेलायती सरकारको सहयोगमा सञ्चालित ग्रामीण पहुँच कार्यक्रम–३ मार्फत् मुगुको गमगढीदेखि हुम्लाको चंखेलीसम्मको सडक निर्माण गरिएको हो।, उक्त आयोजनामा १ अर्ब ६६ करोड ९३ लाख ५२ हजार रुपैयाँ लागत लागेको छ। हाल सडकको चौडाइ चार मिटर फराकिलो छ।, सडक पहुँच नहुँदा चंखेली गाउँपालिका र आसपासका सवारी साधन भेटाउन मुगुसम्म हिँडेर आउनुपर्ने बाध्यता अन्त्य भएको चंखेली गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीले बताए।, उनका अनुसार यो सडकले मुगुको छायाँनाथ रारा नगरपालिाकाका वडा नम्बर १३ र १४ लाई पनि समेट्छ।, ‘अब हुम्ला मात्र होइन, मुगुका पनि केही बासिन्दालाई आवतजावत गर्न सहज भएको छ,’ अध्यक्ष शाहीले भने।, सडक हस्तान्तरण कार्यक्रममा मुख्यमन्त्री शाहीले विकासको पहिलो आधार सडक भएकाले यो सडक निर्माणसँगै हुम्लाको थप विकासमा टेवा पुगेको बताए।, बेलायती राजदूतनिकोला पोलिटले गमगढी–देउली हुम्लाबाट मुगुसम्म पैदल पुग्नुपर्ने अवस्थालाई यो सडकले अन्त्य गरेको बताइन्।, उनले बेलायतले नेपालमा निर्माण गरेका सडकमध्ये गमगढी–देउली सडक सबैभन्दा लामो दूरीको भएको बताइन्।, २०१८ अक्टोबरदेखि सुरू भएको उक्त सडक निर्माणका क्रममा ४ हजार ४०० बढी स्थानीय श्रमिकलाई रोजगारी पाएका थिए भने तीमध्ये ३५ प्रतिशतभन्दा बढी महिलाहरू सहभागी भएका थिए।, राष्ट्रिय सडक सञ्जालमा जोडियो हुम्लाको चंखेली
रासस वन तथा वातावरण विभागले प्रदूषण जाँच नगरी सञ्चालन भएका सवारीसाधनलाई आज पुस १ गतेदेखि रु एक लाख जरिवाना गर्ने भएको छ।, विभागले गत मङ्सिर २२ गते एक सूचना प्रकाशित गरी वायु प्रदूषणको मुख्य कारण गाडीबाट निस्कने धुवाँ र खुलारूपमा जलाउने फोहर रहेको भन्दै प्रदूषण जाँच गरी तोकिएको मापदण्ड पूरा गरेर मात्र गाडी चलाउन आग्रह गरेको थियो।, पछिल्लो समयमा काठमाडौँ उपत्यकामा सञ्चालन भइरहेका गाडीमा धुवाँ निष्काशनको अवस्था दयनीय पाइएकाले प्रदूषण जाँच नगरेका गाडीलाई आजदेखि कारबाहीसहित जारिवाना गरिने विभागले जनाएको छ।, यसैगरी विभागले प्रदूषण जाँच गरेरमात्रै गाडी चलाउन आग्रह गरेको छ। विभागले गाडीको धुवाँ निष्काशनको अवस्थाबारे परीक्षणलाई प्रभावकारी बनाउनसमेत जनाएको छ।, अहिले धुवाँ परीक्षण गर्दा मापदण्डभन्दा धेरै प्रदूषण गराइरहेका गाडीलाई एकपटकका लागि मर्मत गरी अवस्था दुरुस्त राख्न दिने गरेकामा आजदेखि विभागको परीक्षणमा प्रदूषण जाँच पास हुन नसक्ने गाडीलाई रु एक लाखसम्म जरिवाना गर्ने विभागले चेतावनी दिएको छ।, कैफियत भेटिएमा वातावरण संरक्षण ऐन, २०७६ को दफा ४१ उपदफा २ अनुसार जरिवाना हुने भएको छ। छड्के जाँचमा प्रदूषण जाँचपासका रूपमा हरियो वा अन्य स्टिकरको अवधि बाँकी रहेको अवस्थामा पनि प्रदूषण जाँच अनुत्तिर्ण हुने गाडीलाई जरिवाना गरिने विभागले चेतावनी दिएको छ।, साथै विभागले कसैले टोल छिमेकमा खुलारूपमा फोहर जलाउने तथा खुलारूपमा फोहर जलाएको पाइएमा गोप्यरूपमा जानकारी दिनसमेत आग्रह गरेको छ। यसरी खुलारूपमा फोहर जलाउनेलाई कारबाही गरिनेसमेत विभागले जनाएको छ।, धुवाँ धेरै फाल्ने गाडीलाई आजदेखि १ लाख जरिवाना लिइने
सेतोपाटी संवाददाता जाजरकोटमा भएको जिप दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ११ पुगेको छ।, जिल्लाको छेडागाड नगरपालिका–५ मा सोमबार अपराह्न ४ बजे भएको जिप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ११ पुगेको  छेडागाड–४ का वडाध्यक्ष गणेशबहादुर थापाले जानकारी दिए।, वडा नम्बर ४ स्थित खातीजेवामा भएको विवाहको जन्ती बोकेको कर्णाली प्रदेश ०२००१ च ०४२९ नम्बरको जिप भीरपाटीमा दुर्घटनामा परेको हो।, जिप मध्यपहाडी लोकमार्गबाट करिब २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।, वडाध्यक्ष थापाका अनुसार घाइतेहरूको उद्धार गरी उपचारका लागि नेपालगञ्ज पठाइएको छ।, उक्त जिप विवाह भोजमा सहभागी भएका एक जना जन्ती बिरामी परेपछि उपचारका लागि थलह बजार ल्याउन लागिएको थियो।, ‘एकजना बिरामी हुनुभएको थियो। उहाँलाई उपचार गराएर लाने र अरू केही मानिस तलतिर झर्ने थिए होला,’ वडाध्यक्ष थापाले भने, ‘पीच बाटोमा एक्कासी गाडी कसरी खस्यो भन्ने खुलेको छैन।’, मृत्यु हुनेमा भगवतीमाई गाउँपालिका–२ दैलेखका चालक मानबहादुर रावत, भगवतीमाई–३का सुरेन्द्र केसी, अम्मरबहादुर खड्का, छेडागाड –५ का जयकुमार बुढा, नैनसरा अधिकारी, दीपक अधिकारी, देवीसरा बुढा, अम्मरबहादुर अधिकारी, २ वर्षीया बालिका निशा अधिकारी छन्।, दुर्घटनामा घाइते भएका अम्मर र बालिका निशाको उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो।, यस्तै छेडागाड–६ का वीरबहादुर खत्री, रामबहादुर बुढाको पनि घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष थापाले जानकारी दिए।, दुर्घटनामा घाइते भएका जैमान अधिकारीलाई उपचारका लागि नेपालगञ्ज लगिँदैछ।, जाजरकोट जिप दुर्घटनाः ११ जनाको मृत्यु (अपडेट)
सेतोपाटी संवाददाता नेपालका लागि जर्मनीका राजदूत थोमस प्रिन्ज साइकल चढेर काठमाडौंबाट बंगलादेशको राजधानी ढाका जाने भएका छन्।, सामाजिक सञ्जाल ट्विटरमा उनले  आफू यात्रामा निस्किसकेको जानकारी दिएका छन्।, I am on a bike🚴trip to Dhaka, capital of 🇧🇩, from Kathmandu through 🇮🇳. During the journey, I plan to cover 850 km and reach Dhaka by Christmas. ,pic.twitter.com/HuWUXh69AF, — Dr. Thomas Prinz (@GerAmbKTM) ,December 12, 2022, भारत हुँदै आफूले झन्डै ८५० किलोमिटर यात्रा गर्ने र क्रिसमस मनाउन ढाका पुग्ने लक्ष्य रहेको उनले बताएका छन्।, प्रिन्ज सन् २०२१ देखि नेपालमा राजदूत छन्।, साइकलमा काठमाडौंबाट ढाका पुग्दैछन् जर्मनीका राजदूत
सेतोपाटी संवाददाता धनुषाको बटेश्वर गाउँपालिका-५ स्थित शान्तिपुरकी २८ वर्षीया अमृता यादवको हत्या उनका श्रीमानले नै गरेको खुलेको छ।, सोमबार बिहानै ४/५ बजेतिर उनका श्रीमान वीरेन्द्र यादवले बञ्चरो प्रहार गरी हत्या गरेको अनुसन्धानमा खुलेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।, ‘बिहानै चिया पकाउन भन्दा उनले मानिनन्। ३/४ महिनादेखि अमृताले कामै नगर्ने, खाली सुत्ने मात्र गर्थिन्। त्यही भएर दिनदिनै झगडा परिरहन्थ्यो,’ वीरेन्द्रले प्रहरीलाई बयान दिएका छन्।, प्रहरीका अनुसार बिहान ५ बजेतिर वीरेन्द्र र उनका आमा ‘चोर आयो चोर’ भन्दै चिच्याउँदै घरबाट बाहिर निस्केका थिए। हल्ला सुनेर तुरून्तै स्थानीयको भिड लाग्यो। वीरेन्द्रले ३/४ जनाको समूहमा आएको चोरले श्रीमतीमाथि हतियार प्रहार गरेको स्थानीयलाई सुनाए।, स्थानीयले घटनाबारे प्रहरी चौकी बटेश्वरलाई जानकारी दिँदै एम्बुलेन्स बोलाए। वीरेन्द्र, उनका आफन्त र स्थानीयले रगतमा लत्पतिएकी अमृतालाई जनकपुरस्थित काव्य अस्पतालमा पुर्याए।  , चिकित्सकले त्यहाँ उनलाई मृत घोषणा गरिदिए।, घटनास्थल पुगिसकेपछि वीरेन्द्रले दिएको बयानमाथि प्रहरीलाई शंका लाग्यो।, ‘कहीँकतैबाट चोर पस्ने ठाउँ नै थिएन। हस्पिटलबाट उनलाई नियन्त्रणमा लिएपछि आफैंले हत्या गरेको स्वीकार गरे,’ प्रहरी नायब उपरीक्षक प्रदीप क्षेत्रीले भने।, वीरेन्द्रले चोर आएको प्रमाणित गर्न श्रीमतीलाई हत्या गरेर बिजुलीको मुख्य तार र ढोका तोडफोड गरेका थिए।, हत्या गर्न प्रयोग गरेका बञ्चरो उनले घरदेखि करिब २ सय मिटर पश्चिममा रहेको पोखरीमा फालेका थिए।, वीरेन्द्रलाई लिएर प्रहरी घटनास्थल पुगेपछि उनले त्यो बञ्चरो प्रहरीलाई देखाएका थिए।, डिएसपी क्षेत्रीका अनुसार दुबै जनाबीच विवादका कारण उनीहरू अलग-अलग कोठमा सुत्ने गरेका थिए।, हत्या आरोपी वीरेन्द्र आफ्नै ट्र्याक्टर चलाउँछन्।, उनी नियमित गाँजा सेवन गरिरहेको खुलेको डिएसपी क्षेत्रीले बताए।, अमृतकी ७ र ३ वर्षका दुई छोरा छन्। स्थानीयका अनुसार वीरेन्द्रले झगडा पर्दा तीन महिनाअघि बिहेमा पाएको फर्निचरसहितका सामान उनको माइत महोत्तरीको भंगहा नगरपालिका-९ स्थित अजगेबा  पुर्‍याएका थिए। पछि स्थानीयले सम्झाइबुझाइ गरेर दुबै जनालाई मिलेर बस्न सुझाएका थिए।, अमृतालाई घरमा बस्न दिए पनि उनीहरूबीच भने मेलमिलाप भएन।, धनुषामा बञ्चरो प्रहार गरी श्रीमतीको हत्या
सेतोपाटी संवाददाता जाजरकोटमा जीप दुर्घटनामा परेको छ।, सोमबार दिउँसो ४ बजेतिर कर्णाली प्रदेश ०२००१ च ०४२९ नम्बरको जीप दुर्घटनामा परेको हो।, छेडागाड नगरपालिका–५ भीरपाटीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।, दुर्घटनामा क्षतिको यकिन विवरण आइसकेको छैन।, स्थानीयस्तरमा रहेको प्रहरी र जिल्ला प्रहरी कार्यालयबाट टोली घटनास्थलतर्फ गइरहेको छ।, जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार छेडागाड–५ को वडावनदेखि वडा नम्बर ४ दशेर जाँदै गरेको जीप सडकदेखि २०० मिटर तल खसेको छ।, जाजरकोटमा सडकदेखि दुई सय मिटर तल खस्यो जीप
भगवती पाण्डे आफ्नै श्रीमानको हत्या आरोपमा प्रहरीले अर्घाखाँचीमा एक महिलालाई पक्राउ गरेको छ।, छत्रदेव गाउँपालिका वडा नं. १ चिदिका चुमचौरकी लक्ष्मी नेपालीलाई प्रहरीले उनकै श्रीमानको हत्या गरेको  आरोपमा पक्राउ गरेको हो।, प्रहरीका अनुसार गत मंसिर २४ गते लक्ष्मीका श्रीमान बलबहादुर सार्की घरभित्रै मृत अवस्थामा फेला परेका थिए।, घटनाबारे अनुसन्धान गर्दै जाँदा बलबहादुरको मृत्यु नभई श्रीमती लक्ष्मीले घाँटीमा पासो लगाएर हत्या गरेको पुष्टि भएको प्रहरीले जनाएको छ।, जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण प्रसाद घिमिरेका अनुसार गत मंसिर २४ गते स्थानीय गोविन्दबहादुर नेपालीको घरमा मृत्युपछिको वार्षिक तिथिको काम भइरहेको थियो। दिनभरि गोबिन्दको घरमा काम सघाउन गएका बलबहादुर र लक्ष्मी साँझ मदिरा सेवन गरी घर फर्किएका थिए।, घरमा आएपछि श्रीमान श्रीमतीबीच विवाद सुरू भयो। बलबहादुरले लक्ष्मीलाई कुटपिट गर्न थाले। श्रीमानले कुटपिट गरेको रिसमा लक्ष्मीले कम्मरमा बाँधेको पटुकी फुकाएर बलबहादुरको घाँटीमा पासो लगाई दलिनमा झुण्ड्याइदिइन्। पासो लगाएर झुण्ड्याएका बलबहादुरको मृत्यु भएपछि लक्ष्मीले दलिनमा बाँधेको पासो खोलिदिइन्।, शवलाई भुइँमा छोडिदिइन् भने पासो लगाइदिएको पटुकी कम्मरमा बाँधेर पुनः गोविन्द नेपालीकै घरमा पुगिन्।, गोविन्दको घरमा श्रीमानले कुटपिट गरेको बताएकी लक्ष्मी रातभरि सोहि घरमा बसेकी थिइन्।, भोलिपल्ट बिहान घर गएकी लक्ष्मीले श्रीमान मृत भेटिएको भन्दै छिमेकीलाई खबर गरेकी थिइन्। तर प्रहरीले अनुसन्धान गर्दै जाँदा बलबहादुरको मृत्यु नभई पासो लगाइ हत्या गरेको भन्दै लक्ष्मीलाई पक्राउ गरेको हो।, अहिले लक्ष्मीलाई पक्राउपछि जिल्ला अदालत अर्घाखाँचीबाट म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।,  , प्रहरी भन्छ- बलबहादुरको मृत्यु नभई श्रीमती लक्ष्मीले हत्या गरेको पुष्टि
सेतोपाटी संवाददाता चितवनमा विवाह भोज खाएका पाँच सय जना एकसाथ बिरामी परेका छन्।, भरतपुरस्थित चितवन गार्डेन रिसार्ट (सिजिआर) मा गत २३ गते बिहेभोज खाएका उनीहरू बिरामी परेका हुन्। बिरामी भएकामध्ये ३० जना भन्दा बढी उपचारका लागि नेशनल सिटी अस्पतालमा भर्ना भएका छन्।, अस्पतालका प्रबन्ध निर्देशक विक्रम अधिकारीले एउटै भोजमा सहभागी ६५ जना अस्पताल आइपुगेको बताए।, ‘एउटै भोजमा सहभागी भएर पखला, वान्ता, ज्वरो आएका बिरामीहरु अस्पताल आउने उपचार गर्ने जाने क्रम अहिले पनि चलिरहेको छ,’ अधिकारीले भने, ‘फुड पोइजनका कारण बिरामी परेको हुनसक्छ। त्यहीअनुसार उपचार भइरहेको छ।’, उनीहरु नवलपुरको गैंडाकोट–१ का गणेश ढकाल र भरतपुर–१० की करिश्मा अधिकारीको विवाहमा सहभागी भएका थिए।, ढकाल र अधिकारी पनि सामान्य बिरामी छन्। नेशनल सिटी अस्पतालमा उपचार गराइरहेका गैंडाकोटका सविन लम्सालले भोजमा सहभागी बिरामीले अस्पताल भरिएको बताए।, ‘भोज खाएको भोलिपल्टबाट ज्वरो आउने, टाउको दुख्ने, पखला लाग्ने समस्या देखियो। अरुलाई पनि उस्तै समस्या देखिएपछि जचाउन अस्पताल पुग्यौं,’ लम्सालले भने, ‘गुणस्तरहीन खाना खुवाएर बिरामी बनाउने होटल सञ्चालकलाई कारबाही गर्नुपर्छ भन्ने हाम्रो माग छ।’, होटलका प्रबन्ध निर्देशक जनार्दन रिजालले विवाह भोजमा सहभागीहरु बिरामी परेको जानकारी पाएको बताए।, ‘हामी कहाँ मंसिरभरका लागि विवाह पार्टी बुकिङ भएको छ। होटलका कोठाहरु पनि भरिएका छन्। २३ गते पाँच सय जना भन्दा बढीलाई खाना खुवाएका थियौं। उहाँहरु मध्ये धेरैजना बिरामी पर्नुभएको जानकारी पाएका छौं,’ रिजालले भने, ‘उही खाद्यान्न प्रयोग गरिएको अन्य भोजमा सहभागी हुनेलाई केही नहुने एउटा भोजमा सहभागी हुनेलाईमात्र समस्या आउने के भएको रहेछ छानबिन गरिरहेका छौं।’, उपचाररत बिरामीहरुले फूड पोइजनको विषयमा छानबिन हुनुपर्ने र उपचार खर्च होटलले व्योहोर्नुपर्ने माग गरेका छन्।, भरतपुरमा विवाह भोज खाएका पाँच सय एकसाथ बिरामी
सेतोपाटी संवाददाता फलफूलमा लुकाएर प्रहरी हिरासतमै श्रीमानलाई ब्राउन सुगर पुर्‍याउने महिला पक्राउ परेकी छन्। , केही दिन पहिले दाङको घोराही उपमहानगरपालिका वडा नं. १५ का २२ वर्षीय अशोक खड्का लागुऔषधसहित पक्राउ परेका थिए।, उनलाई प्रहरीले हिरासतमा राखेर लागुऔषध मुद्दा चलाई अनुसन्धान जारी राखेको थियो।, यही क्रममा सोमबार बिहान पौने ९ बजेतिर श्रीमानलाई फलफूल दिन भनेर हिरासतमा पुगेकी उनकी २६ वर्षीया श्रीमती शान्ति खड्का घर्तीले लुकाएर श्रीमानलाई ब्राउन सुगर दिएको तथ्य खुलेपछि उनी पक्राउ परेकी हुन्। , शान्तिले लगेको सामान चेक गर्ने क्रममा पाँच पुरिया ब्राउन सुगर बरामद भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमले सेतोपाटीलाई बताए। , शान्तिले श्रीमानलाई हिरासतभित्रै लगिदिएको ब्राउन सुगरको तौल गर्दा एक सय २० मिलिग्राम रहेको डिएसपी गौतमले जानकारी दिए। , यसैबीच शान्तिलाई पनि पक्राउ गरी प्रहरी हिरासतमा राखेर अनुसन्धान थालेको छ। उनलाई पनि लागुऔषधसम्बन्धी मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ।, हिरासतमा रहेका श्रीमानलाई श्रीमतीले ब्राउन सुगर पुर्‍याउन खोजेपछि ...
नारायण खड्का बुधबारदेखि लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङबाटै औपचारिक रूपमा सबै काम सुरू हुने भएको छ। , मुख्यमन्त्री कार्यालयमा झण्डोत्तोलन गरी विधिवत रूपमा स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा कार्यान्वयन भएको घोषणा गर्ने अन्तिम तयारी गरिएको छ। , प्रदेश सरकारले झण्डोत्तोलन कार्यक्रम गर्ने जिम्मा आन्तरिक मामिला मन्त्रालयले लिएको छ। , राप्ती गाउँपालिकाका अध्यक्ष तथा राजधानी व्यवस्थापन मुल समितिका संयोजक प्रकाश विष्टले मंसिर २८ गते झन्डोत्तोलनसहित औपचारिक रूपमा राजधानी कार्यान्वयन मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट गरिने बताए।, झन्डोत्तलन प्रदेश प्रमुख अमिक शेरचनले गर्नेछन्।, त्यसपछि त्‍यहाँ रहेका सहरी विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालयका कर्मचारीले पनि काम गर्न बाटो खुल्ने विष्टले बताए। यहीँ अन्य मन्त्रालय तथा कार्यालयहरू पनि यथाशीघ्र स्थान्तरण गरिने उनले बताए। , उद्घाटनको दिन विभिन्न साँस्कृतिक झाँकीहरू प्रदर्शन समेत गर्ने तालिका छ। स्थानीय बजार देखि मन्त्रालयसम्म सरसफाइ गर्ने पनि तालिका छ। राजधानी सारेसँगै पूर्वपश्चिम राजमार्गमा रहेका यात्रु प्रतिक्षालयमा पनि रंग लगाइएका छन्।, प्रदेशका १२ वटै जिल्लाका जिल्ला समन्वय प्रमुखहरूलाई बोलाइएको छ। , दाङ जिल्लाका सबै पालिका प्रमुख–उपप्रमुख, अध्यक्ष- उपाध्यक्ष, वडाअध्यक्ष लगायतलाई पनि निमन्त्रणा गरिएको छ।, हाल राप्ती गाउँपालिका वडा नं. ३  लालमटियास्थित पहिले राप्ती प्राविधिक शिक्षालय रहेको ठाउँमा मुख्य मन्त्री, मुख्यसचिवसहित अन्य मन्त्रालयहरू निर्माण गरिएका छन्। , मुख्यमन्त्रीको आवस पनि यही भित्र निर्माण गरिएको छ। , प्रदेश सभाको दुई तिहाइ बहुमतले २०७७ असोज २० गते दाङको राप्ती गाउँपालिकालाई प्रदेश राजधानीको केन्द्र तोकेको थियो।,  , बुधबारदेखि दाङबाटै लुम्बिनी प्रदेशको औपचारिक काम सुरू गर्ने तयारी (तस्बिरहरू)
सेतोपाटी संवाददाता ट्याक्टर दुर्घटनामा परि सहचालकको मृत्यु भएको छ। , दाङको दंगीशरण गाउँपालिका-६ का १७ वर्षीय सुदीप चौधरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। , गाउँपालिकाको वडा नं. ३ बबई नदीको एकलीबाट ढुंगा बोकेर सिमठानातर्फ जाँदै गरेको रा १ ब ४५३३ नम्बरको ट्याक्टर अनियन्त्रित भइ सोमबार राति ८ बजेतिर दुर्घटनामा परेको थियो। , गम्भीर घाइते चौधरीलाई उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल ल्याएकोमा चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिए। , चालक र ट्याक्टर प्रहरी नियन्त्रणमा छन्। , ट्याक्टर दुर्घटना हुँदा दाङमा सहचालकको मृत्यु
रासस विराटनगरलाई डुबानबाट मुक्त गराउन विराटनगर महानगरपालिकाले सम्भाव्यता अध्ययन सुरु गरेको छ। डुबान समस्याको दीर्घकालीन समाधान खोज्न महानगरले एसियाली विकास बैंक (एडिबी)को सहयोगमा वर्षात्को पानीले हुने डुबान व्यवस्थापनका लागि सम्भाव्यता अध्ययन सुरु गरेको हो।, वर्षाको पानी सहज निकास नहुँदा हरेक वर्षायाममा विराटनगर डुबानमा पर्ने गरेको छ। महानगरलाई वैज्ञानिकरूपमै डुबानबाट मुक्त गर्न एडिबीको सहयोगमा सम्भाव्यता अध्ययन सुरु गरेको विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले जानकारी दिए।, प्रमुख कोइरालाको नेतृत्वमा सोमबार अध्ययन टोलीले महानगरका डुबानग्रस्त विभिन्न वडाको स्थलगत निरीक्षण गरेको छ। आरयुडिपी प्रोजेक्टअन्तर्गतको स्मेक डिएमले वर्षातको पानी व्यवस्थापनका लागि सम्भाव्यता अध्ययन सुरु गरेको प्रमुख कोइरालाले बताए।, विराटनगरमा जम्ने पानीलाई कसरी सिङ्घिया र केसलिया खोलामा लगेर व्यवस्थापन गर्न सकिन्छ भनेर एडिबीका परामर्शदाताबाट अध्ययनको सुरुआत गरिएको उनको भनाइ छ। त्यस्तै पुराना पैनीहरू घोगा, बस्ता, धुदुवा, च्याङबारी, मर्लीखोलालगायतको पानीलाई पनि मूलखोलामा पु¥याएर वर्षाको पानीलाई व्यवस्थापन गर्ने महानगरको योजना छ।, ‘विराटनगरको उत्तरबाट दक्षिण र पूर्वबाट पश्चिमसम्मको भाग हेरिरहेका छौँ’, प्रमुख कोइरालाले भने, ‘एडिबीबाट आएका साथीहरूसँग म आफैँ हिँडिरहेको छु । उहाँहरूले अध्ययन गरेपछि एक–दुई हप्ताभित्रैमा प्रतिवेदन तयार पार्नुहुनेछ र त्यसपछिको प्रक्रियामा अगाडि बढ्नेछौँ।’, स्मेक डिएमका टोलीनेता डा शेख जाबेद मोहम्मदसहितको प्राविधिक टोलीले सम्बन्धित वडामा पुगेर पानीको निकासका विषयमा सुक्ष्म अध्ययन गरेको छ। टोलीले अध्ययनपछि विस्तृत प्रतिवेदन तयार पार्नेछ।    , प्राविधिकसहितको टोलीले विराटनगर वडा नं ३, १५, १७, १८ र १९ मा पुगेर स्थलगत अध्ययन गरेको छ।, विराटनगरलाई डुबान मुक्त बनाउन सम्भाव्यता अध्ययन सुरु
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकास्थित सुन्धारामा पानी झार्न तत्कालीन समयमा काठबाट बनाइएको संरचनामा डोजर लगाएर क्षति पुर्‍याइएको छ।, सुन्धारामा पानी झार्न तत्कालीन समयमा काठबाट बनाइएको संरचनामा आइतबार पूर्ण रूपमा डोजर लगाई क्षति पुर्‍याइएको काठमाडौं महानगरपालिका २२ का वडाध्यक्ष चिनीकाजी महर्जनले जानकारी दिए।, उनका अनुसार रमन कन्स्ट्रक्सन कम्पनीले ऐतिहासिक र साँस्कृतिक सम्पदा भएको स्थान सुन्धारामा बुलडोजर लगाएर उक्त संरचना नाश गर्ने कोशिस गरेको बताए। , अहिले सुन्धाराको ढुंगेधारा नजिकका जीर्णोद्धार रहेका क्षेत्रमा पुनर्निर्माणको काम भइरहेको र बिना कुनै जानकारी कन्स्ट्रक्सन सम्पदा क्षेत्रमा डोजर चलाएर क्षति पुर्‍याएको उनको भनाइ छ। , ‘पुनर्निर्माण गरिरहेको नाममा ऐतिहासिक स्थललाई क्षति पुर्‍याइएको छ। यो धारासँग हाम्रो पानीको सभ्यता गाँसिएको छ। साँस्कृतिक सम्बन्ध पनि छ’, उनले भने, ‘त्यसैले आज काम पनि रोक्न निर्देशन दिइएको छ।’ , ढुंगेधारालाई पुरानै शैलीमा पुनर्निर्माण गरी संरक्षण गर्न स्थानीयहरूको माग छ। , सुन्धारामा तत्कालीन समय पानी झार्न काठबाट बनाइएको संरचना। तस्बिरः काठमाडौं महानगर,  , सुन्धारामा पानी झार्न तत्कालीन समयमा काठबाट बनाइएको संरचनामा चल्यो डोजर
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकासहित देशभरको मौसम चिसिदै गएको छ। मौसमविदका अनुसार अब देशभर चिसो बढ्दै जानेछ।, मौसमविद हिरा भट्टराईका अनुसार तापक्रम घट्ने क्रममा छ। अब चिसो क्रमशः बढ्दै जान्छ। पछिल्लो केही दिन यता न्यूनतम् तापक्रम क्रमशः घटिरहेको छ। , हाल पश्चिम तराई, मध्य तराई र पूर्वी तराईका केही क्षेत्रमा हुस्सु लागेको छ। तर, मध्यान्हपछि क्रमिक रूपमा सुधार हुँदै जाने महाशाखाले जनाएको छ।, दिनभर घाम लागे पनि बिहान र बेलुका जाडो बढेको महसुस हुन थालेको छ।, सोमबार (हिजो) यो वर्षकै सोमबारसम्म सबैभन्दा कम तापक्रम थियो। सोमबार बिहान पौने ९ बजेको तापक्रम ५.४ डिग्री सेल्सियस मापन गरिएको थियो। , आज बिहान पौने ६ बजेको काठमाडौंको न्यूनतम तापक्रम ५.७ डिग्री सेल्सियस रहेको छ। यस्तै अधिकतम तापक्रम १९ डिग्रीको अनुमान गरिएको छ।, हाल सबैभन्दा कम तापक्रम जोमसोममा माइनस ४.५, जुम्लामा माइनस ३, र जिरिमा ०.५ रहेको छ।, तराईमा तीन/चार दिनदेखि बिहान हुस्सु र कुहिरो लाग्ने गरेको हो । हुस्सु र कुहिरो लागेको बेलामा दुर्घटनाको जोखिम हुने भएकाले गाडी चलाउँदा ख्याल गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ । कुहिरो तथा हुस्सु लागेका बेला ती क्षेत्रमा सामान्य गतिमा र बत्तीको  प्रयोग गरी गाडी चलाउन ट्राफिक प्रहरीको आग्रह छ ।, आज प्रदेश एक, गण्डकी र कर्णालीका केही पहाडी क्षेत्रमा मौसम आंशिक बदली हुने अनुमान छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश एक, गण्डकी र कर्णालीका पहाडी केही क्षेत्रबाहेक अरु ठाउँको मौसम समान्यतया सफा नै छ ।, महाशाखाले चिसोबाट जोगिन आवश्यक तयारी र सावधानी अपनाउन पनि अनुरोध गरेको छ ।, पछिल्लो केही समय यता उल्लेखनीय मौसमी प्रणाली नहुँदा वर्षा र हिमपात हुन सकेको छैन। आज पनि देशका कुनै पनि भू–भागमा हिमपात र वर्षाको सम्भावना रहेको छैन। , यद्यपि, चिसो भने बढ्दै गइरहेको छ। तराईका केही भू–भागमा बिहान हुस्सु र कुहिरो लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जानेक्रम रहेको छ। त्यसैले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन विभागको अनुरोध छ।, यसैबीच, आज बिहान देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ। , आज दिउँसो प्रदेश–१ को पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागको पूर्वानुमान छ।   , आज राति प्रदेश–१ र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।, चिसो क्रमशः बढ्दै आवश्यक तयारी अपनाउन आग्रह
सेतोपाटी संवाददाता जाजरकोटमा सोमबार भएको जिप दुर्घटनामा १२ जनाको मृत्यु भएको छ।, जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष निरौलाका अनुसार उपचारका लागि लगिएका थप एक घाइते जयलाल अधिकारीको पनि बाटोमै मृत्यु भएको छ।, छेडागाड नगरपालिका–५ मा सोमबार अपराह्न ४ बजे कर्णाली प्रदेश ०२००१ च ०४२९ नम्बरको जिप दुर्घटनामा परेको थियो। दुर्घटनामा ८ जनाको घटनास्थलमै मृत्यु भएको थियो।, घाइते तीन जनालाई उद्दार गरी उपचारका लागि सुर्खेत पठाईएको थियो। घाइतेहरुको बाटोमै मृत्यु भएको डिएसपी निरौलाले बताए।, दुर्घटनामा दैलेखको भगवती माई गाउँपालिका–२ का ३५ वर्षीय चालक मानबहादुर बस्नेत, वडा नम्बर ३ का २८ वर्षीय वीरेन्द्र केसी, ३१ वर्षीय अम्मरबहादुर खड्का, जाजरकोटको छेडागाड नगरपालिका ६ का ३५ वर्षीय वीरबहादुर खत्री, वडा नम्बर ५ का ३३ वर्षीया जयकुवारा बुढा, ३२ वर्षीया नैनसरा अधिकारी, ३१ वर्षीय रामबहादुर बुढा, ३८ वर्षीय दीपक अधिकारी, उनकी छोरी ४ वर्षीया निशा अधिकारी, ३६ वर्षीया देवीसरा बुढा, ४२ वर्षीय अम्मर अधिकारी र ४८ वर्षीय जयलाल अधिकारीको मृत्यु भएको हो।, ४ वर्षीय निशासहित अम्मर अधिकारी र जयलाल अधिकारीको उपचारका लागि लैजादै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ। अरु ८ जनाको घटनास्थलमै मृत्यु भएको हो।, छेडागाड नगरपालिका–४ स्थित खातीजेवामा भएको विवाहको लागि रिजर्भ गरिएको जिप भिरपाटीमा दुर्घटनामा परेको हो।, विवाह भोजमा सहभागी एकजना जन्ती बिरामी परेपछि उनलाई उपचारका लागि नगर अस्पताल बडावनमा लैजादै गर्दा छेडागाड–४ र ५ मा पर्ने भिरबाटीमा उक्त जिप दुर्घटनामा परेको हो।, वडा नम्बर ४ का अध्यक्ष गणेश थापाका अनुसार जिप खाली देखेपछि अरु मानिस पनि थलह बजारसम्म जाने भन्दै चढेका थिए। जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार जिप मध्यपहाडी लोकमार्गबाट करिब २ सय मिटर तल खसेको थियो।, जिप दुर्घटनामा परेर जाजरकोटमा १२ जनाको मृत्यु (अपडेट)
भगवती पाण्डे निर्माण सम्पन्न भएर पनि सञ्चालन कार्यविधि नबन्दा बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र प्रयोगमा आउन सकेको छैन।, बुटवल उपमहानगरपालिका–१०, रामनगरस्थित बुटवल मण्डपमा बनेको सुविधा सम्पन्न सम्मेलन केन्द्र प्रधानमन्त्री शेरबहादुर देउवाले गत भदौ ११ गते एक समारोहमा उद्घाटन गरेका थिए।, बुटवलमा ठूला गोष्ठी, सेमिनार, राजनीतिक दलका सभा सम्मेलन इत्यादिका लागि ठूलो क्षमताको सभाहल थिएन। नेकपा एमालेले २०६५ सालमा आठौं महाधिवेशन गर्न बुटवलमा ठूलो क्षमताको सभाहल खोजेको थियो। नभेटिएपछि बुटवल मण्डपमा खुला आकाशमुनि नै गरिएको थियो।, यसपछि बुटवल मण्डपमै अन्तर्राष्ट्रिय स्तरको सम्मेलन केन्द्र निर्माणको परिकल्पना गरिएको थियो।, सरकारले सभाहल निर्माण गर्ने निर्णय २०६५ सालमै गरे पनि २०७१ साल माघ १५ गतेमात्रै निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको थियो।, निर्माण सुरू नगर्दै २०७२ सालमा गएको विनाशकारी भूकम्प, त्यसपछिको नाकाबन्दी र मधेस आन्दोलन अनि कोभिड महामारीका कारण सम्मेलन केन्द्रको निर्माण कार्यमा असर परिरह्यो।, आठ वर्षमा निर्माण पूरा भई उद्घाटन भएको साढे तीन महिना बित्दा पनि सम्मेलन केन्द्र सञ्चालन भएको छैन।, सम्मेलन केन्द्र निर्माण आयोजनाका प्रमुख धर्मेन्द्र पन्थीका अनुसार सञ्चालन कार्यविधि तयार नहुँदा सम्मेलन केन्द्र बन्द राख्नु परेको हो।, सहरी विकास तथा भवन निर्माण विभागले सञ्चालन कार्यविधि तयार गरेर संघीय सहरी विकास मन्त्रालयमा बुझाएको उनले बताए। उनका अनुसार कार्यविधि मन्त्रिपरिषदबाट स्वीकृत हुन बाँकी छ।, पन्थीका अनुसार सहरी विकास तथा भवन निर्माण विभागले सभाहल सञ्चालन कार्यविधि तथा निर्देशिका तयार पारेर संघीय मन्त्रिपरिषदमा पठाएको छ।, कार्यविधिमा प्रस्ताव गरिएअनुसार पाँच सय जना क्षमताको सभाहल नगरपालिका वा गाउँपालिकाले सञ्चालन गर्न पाउँछन्।, उपमहानगरपालिकाले सात सय जना क्षमताको र महानगरपालिकाले एक हजार सिट वा सोभन्दा बढी क्षमताको सभाहल सञ्चालन गर्न पाउँछन्।, बुटवलको सम्मेलन केन्द्र एक हजार जनाभन्दा बढी अटाउने क्षमताको छ। यो सम्मेलन केन्द्र बुटवल उपमहानगरले छुट्टै विकास समिति बनाएर सञ्चालन गर्ने गरी कार्यविधि प्रस्ताव छ।, यस्तो विकास समिति सहरी विकास मन्त्रालय मातहत रहने पनि पन्थीले बताए।, आयोजना प्रमुख पन्थीले निर्वाचनका कारणले कार्यविधि स्वीकृतिमा ढिलो भएको हुन सक्ने बताए।, उनका अनुसार उद्घाटन भएयता झन्डै एक दर्जन सामाजिक संघसंस्था, सहकारी संस्था तथा व्यक्तिहरूले समेत कार्यक्रमका लागि सभाहल मागेका थिए।, उनले रोटरी क्लबको सम्मलेन, चिकित्सकहरूको सेमिनार, शैक्षिक प्रदर्शनी, सहकारी संस्थाहरूका साधारणसभा तथा विवाहको लागि समेत सभाहल माग भएको थियो।, सञ्चालन कार्याविधि नभएकाले कसैलाई पनि उपलब्ध हुन सकेन।, पन्थीले मन्त्रिपरिषद्ले कार्यविधि स्वीकृत गरेपछि सभाहल सञ्चालन हुने बताए।, उनी भन्छन्, ‘निर्माण सम्पन्न भएको छोटो अवधिमै आएको माग हेर्दा बुटवलको सभाहल खाली राख्नुपर्ने अवस्था आउँदैन।’, उनले अब नयाँ सरकार बनेपछि कार्यविधि स्वीकृत हुनसक्ने अनुमान गरे।, पन्थीका अनुसार बुटवलको सभाहल काठमाडौं बाहिर सबैभन्दा बढी क्षमताको हो। यसको मासिक सञ्चालन खर्च १३ लाख रुपैयाँ अनुमान गरिएको छ।, सभाहलले कुल साढे १६ बिघा जमिन चर्चेको छ। यसमध्ये ९ दशमलव ६ बिघा क्षेत्रफलमा सम्मलेन केन्द्रको मूल संरचना बनेको छ।, सतहबाट हेर्दा ब्लकअनुसार फरक–फरक तीन वटा भवन देखिए पनि आकाशबाट हेर्दा आपसमा जोडिएर नेपालको राष्ट्रिय झण्डाको आकार बनेको छ।, सम्मेलन केन्द्रसँगै सय जना अटाउने दुई वटा मल्टी-पर्पोज भवन छन्। सर्भिस ब्लक दुई वटा छन्। एक क्यान्टिन, एक ग्रीन हाउस, कर्मचारी आवास भवन र सुरक्षा गार्ड भवन पनि छन्।, सम्मलेन केन्द्रमा दुई वटा प्रवेशद्वार छन्। निकासद्वार एउटा छ। भिआइपी र सर्भिसका लागि समेत गरी पाँच वटा गेट छन्।, सम्मेलन केन्द्रमा लिफ्ट पनि राखिएको छ। बाटो, फुटपाथ, बगैंचा लगायतका संरचना निर्माण गरिएका छन्।, सम्मेलन केन्द्रमा हेलिप्याड पनि छ। चार सय गाडी र चार सय मोटरसाइकल अटाउने पार्किङ छ।, आयोजना प्रमुख पन्थीका अनुसार भौतिक संरचना निर्माण, रङरोगन, फर्निचर व्यवस्थापन, साउन्ड सिस्टम, विद्युत, सिसिटिभी जडान लगायतका सबै काम सम्पन्न गर्दा एक अर्ब ११ करोड रुपैयाँ खर्च भएको छ।, बुटवल मण्डपमा रहेका १३८ रूख कटान गरी सम्मेलन केन्द्र निर्माण गरिएकोले क्षतिपूर्तिका लागि हरियालीमा विशेष जोड दिइएको छ।, सम्मेलन केन्द्र परिसरमा आकासे पानी जमिनमा पुनर्भरण हुने संरचना पनि बनाइएको छ।, किन बन्द छ एक अर्ब खर्चेर बनाएको सम्मेलन केन्द्र?
सेतोपाटी संवाददाता काठमाडौंको तार्केश्वर नगरपालिका-३ तीनपिप्लेमा एक युवकको शंकास्पद मृत्यु भएको छ।, जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार तीनपिप्लेका अन्दाजी २३ वर्षीय सविन फुयालको मृत्यु भएको हो।  मृतकका आफन्त तथा स्थानीयले उनको हत्या भएको बताएका छन्। , आइतबार राति तीनपिप्लेमा ठूलो आवाज आएको भन्दै प्रहरीलाई रिपोर्टिङ भएको थियो। आवाज आएपछि स्थानीय तथा प्रहरी घटनास्थलमा पुगेका थिए। , बागमती प्रदेश ०२-०२५ प ६१८९ नम्बरको मोटरसाइकल दुर्घटना भएको अवस्थामा फेला परेको थियो। तर सविनको शव भने घटनास्थलभन्दा केही पर फेला परेको वडा नम्बर ३ का वडाध्यक्ष परशुराम अर्यालले बताए। त्यसपछि सविनलाई ग्रिनसिटी अस्पतालमा पुर्‍याइएको थियो। त्यहाँ चिकित्सकले मृत घोषणा गरेका थिए। , सुरूमा बा ५ ख ६७७९ नम्बरको टिपरले ठक्कर दिएपछि घाइते भएका सविनलाई चालकलगायतले मिलेर हत्या गरेको वडाध्यक्ष अर्याल बताउँछन्। , ‘यो घटना नियोजित नै थियो। दुर्घटना सँगसँगै हत्या पनि भएको हो,’ वडाध्यक्ष अर्यालले भने, ‘टिपरले ठक्कर दियो। त्यसपछि दुर्घटनास्थलमै हुनु पर्ने शवलाई पर रहेको बालुवाको रासमा लगेर घाँटी रेटेर हत्या गरेको भन्ने छ।’, मृतक पक्ष तथा स्थानीयले उनको हत्या नै भएको भन्दै आरोपितलाई कारबाही गर्नुपर्ने माग राखेका छन्। , यसरी हत्या गरेको भन्दै सोमबार त्यहाँका स्थानीय तथा मृतक पक्षले आन्दोलनसमेत गरेको थियो। प्रहरीका अनुसार करिब ४ सय जना मान्छेहरूले आन्दोलन गरी ढुंगामुढा गरेका थिए। , आन्दोलनका क्रममा उनीहरूले महालक्ष्मी एन्ड बलामी डिपोका चार वटा टिपरमा समेत क्षति पुर्‍याएका छन्। यस डिपोका टिपर चालक र सहचालकले नै मिलेर यो घटना गरेको उनीहरूको आरोप छ।, घटनामा एक जना प्रहरी निरीक्षकसहित पाँच जना सामान्य घाइतेसमेत भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए। , उनका अनुसार एउटा प्रहरीको मोटरसाइकल समेत जलाइएको थियो। उक्त मोटरसाइकल पूर्ण रूपमा क्षति पुगेको छ।  , यसरी क्षति पुर्‍याउने १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूमाथि प्रारम्भीक अनुसन्धान पश्चात कुन शीर्षकमा मुद्दा चलाउने भन्नेबारे छलफल भइरहेको प्रहरीको भनाइ छ। , यस्तै प्रहरीले दुर्घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा डिपो सञ्चालक विमल बलामी र चालक शिव बलामी छन्। , प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर दुर्घटनाको मुद्दा चलाएर अनुसन्धान गर्न लागेको पीडित पक्षको आरोप छ। अहिले प्रहरी वृत्त बालाजुमा मृतक पक्षले कर्तव्य ज्यान मुद्दामा जाहेरी दिएका छन्।, यता प्रहरीले सविनको मृत्यु हत्या हो वा दुर्घटना भनेको छैन। एसपी मैनालीले यसबारेमा अनुसन्धान नै सुरू गर्न नसकेको बताए।, ‘एक जनाको मृत्यु भएको भन्ने खबर पाएपछि प्रहरीको टोली पुग्यो। तर घटनाको अनुसन्धान नै गर्न नसकिने गरी प्रदर्शन सुरू भयो,’ उनले भने, ‘अनुसन्धान गर्न दिएको भए के भएको हो थाहा हुन्थ्यो। तर ढुंगामुढा, आगजनी गरेर अनुसन्धान नै अघि बढ्न सकेन।’, सविनको पोष्टमार्टम गर्न शव महाराजगन्जस्थित टिचिङ अस्पतालमा राखिएको छ। उक्त पोष्टमर्टमको रिपोर्टबाट पनि घटनाबारे केही थाहा हुने उनी बताउँछन्। , तार्केश्वरमा टिपरको ठक्करले घाइते भएका युवकको हत्या गरेको आरोप
सेतोपाटी संवाददाता काठमाडौंमा ९० वर्षीया वृद्धाको हत्या भएको छ। , तार्केश्वर नगरपालिका-६ धर्मस्थलीको पुतुवार बस्तीमा बस्ने ९० वर्षीया डिल्ली पतुवारको हत्या भएको हो। उनको शव सोही नगरपालिकाको वडा ३ मा रहेको पाखावनमा शव फेला परेको हो। , घरबाट अन्दाजी ५०० मिटर टाढा रहेको जंगलको खोंचमा उनको शव मंसिर २२ गते फेला परेको हो। , प्रहरीका अनुसार उनको हत्या भएको देखिन्छ। मंसिर २० गते मात्रै उनी हराएको भन्दै प्रहरी वृत्त बालाजुमा निवेदन परेको थियो। , दुई दिनपछि ती वृद्धाको शव जंगलमा फेला परेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले जानकारी दिए।, शव फेला परेको खबर पाएपछि प्रहरी वृत्त बालाजु र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली घटनास्थलमा पुगेको थियो। , ती वृद्धाले राम्ररी आँखा पनि देख्थिनन् भने लाठी टेकेर हिँड्थिन्। हिँड्न र देख्नसमेत कठिन भएकी वृद्धा आफैं जंगलमा पुग्न गाह्रो हुने प्रहरीको बुझाइ छ। , उनका एक छोरा र चार छोरी छिन्। उनीहरू आमासँगै बस्दैनन्। एक जना छोरी भने ५० मिटर परको अर्कै घरमा बस्थिन्। , २० गते आमालाई घरमा नदेखेपछि उनले प्रहरीलाई खबर गरेकी थिइन्। त्यसपछि हराएको भन्दै प्रहरी वृत्तमा निवेदन समेत दिएकी थिइन्। , अनुसन्धानमा संलग्न प्रहरीका अनुसार ती वृद्धा को टाउकोमा भित्री चोट छ। , जंगलमा फेला परेको उक्त शव भएको ठाउँमा घिसारिएको पनि देखिएको प्रहरीले बताएको छ। , ‘शरीरका अन्य भागमा हतियार प्रयोग गरिएका चोटहरू कतै छैनन्। तर टाउकोमा ‘ब्लन्ट फोर्स’ केहीले हिर्काएको जस्तो देखिन्छ। त्यसै कारणले मृत्यु भएको भनिएको छ,’ ती अधिकारीले भने, ‘भित्री चोटचाहिँ भनिएको छ। जंगलमा केही घिसारेको जस्तो पनि देखिन्छ।’, यस्तै वृद्धाको दाहिने गालामा जंगली जनावरले पनि खाएको देखिएको उनले बताए। , यसको अनुसन्धान प्रहरी वृत्त बालाजुले गरिरहेको छ। यता अनुसन्धान कार्यालयले पनि अनुसन्धानमा सघाइरहेको छ। , यसमा विभिन्न पाटोबाट अनुसन्धान भइरहेको ती अधिकारीको भनाइ छ। यद्यपि कसैलाई पक्राउ गरिनसकेको उनले बताए। , ‘हामीले हरेक पाटोबाट हेरिरहेका छौं। केही शंकाको घेरामा पनि छन्,’ उनले भने, ‘९० वर्षकी वृद्धालाई जंगलमा लगेर मार्नुपर्ने कारण के-के होलान् भनेर अनुसन्धान हुँदैछ।’, वडा नम्बर ६का वडाध्यक्ष घनश्याम श्रेष्ठका अनुसार पनि यो घटना रहस्यमय छ। मृतक वृद्धा उनकै वडाबासी हुन्। , उनका अनुसार यो घटना कुनै लुटपाट गर्नका लागि पनि होइन। किनभने उनले लगाएका गहना भने शवसँगै भेटिएको छ। , ‘लुटपाट पनि भएको जस्तो छैन। कानमा लगाएको सुनका गहना, सिक्रीहरू त्यहीँ थियो। थैली पनि फालिएको अवस्थामा फेला पर्‍यो,’ उनले भने, ‘कोही नजिकैको मान्छेबाट भएको पो हो कि भन्ने पनि आशंका छ।’, यसैबीच तर्केश्वर-३ तीनपिप्लेमै आइतबार राति अर्का एक युवकको शंकास्पद मृत्यु भएको हो। २३ वर्षीय सविन फुयालको मृत्यु भएको हो। उनको टिपरले ठक्कर दिएर दुर्घटनापछि हत्या गरेको आरोप छ। , प्रहरीले यस घटनामा भने दुई जनालाई नियन्त्रणमा लिएको छ। आफन्तले कर्तव्य ज्यान मुद्दामा जाहेरी समेत दिएका छन्। , तारकेश्वरमा ९० वर्षीया वृद्धाको हत्या
सेतोपाटी संवाददाता ३६३ किलो गाँजा बोकेको ट्रकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। , पर्सा ठोरी गाउँपालिका-३ स्थित ठुटेखोला इलाकाबाट सोमबार उक्त मात्राको गाँजासहित ट्रकलाई सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको हो। , सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीको विशेष सूचनाको आधारमा बिओपी ठोरीले ना ख ६५५५ नम्बरको ट्रकलाई नियन्त्रणमा लिएको हो।, मकवानपुरको हेटौडाबाट पर्साको विजय बस्तीतर्फ जाँदै गरेको उक्त ट्रकमा फल्सबटन बनाएर २२ वटा कार्टुनमा प्याक गरेको अवस्थामा फेला परेको हो। , उक्त ट्रकका चालक सशस्त्र प्रहरीलाई देखेपछि ट्रक छाडेर फरार भएका हुन्। , बरामद गाँजा तथा ट्रक आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय ठोरीमा बुझाइएको छ।,  , पर्सामा ३६३ किलो गाँजा र ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा
राजेश घिमिरे चितवनको कालिका नगरपालिकास्थित पदमपुरमा बन्दै गरेको एउटा भव्य भवनको अगाडि दर्जनौं मान्छेहरू फोटो खिचाउँदै थिए। उनीहरू कोही सेल्फी खिच्न, कोही टिकटक बनाउनमा मस्त देखिन्थे।, उनीहरूमध्ये कसैलाई पनि थाहा थिएन यो कसले, कुन प्रयोजनका लागि बनाएको भवन हो। न त वरपरका स्थानीयलाई नै यसबारे धेरै कुरा थाहा रहेछ। पदमपुरमा दरबारजस्तो भव्य भवन बन्दै छ भन्ने कुरा भने अचेल धेरैले थाहा पाइसकेका छन्। त्यसैले त यहाँ दैनिक सयौं मान्छेहरू पुगिरहेका हुन्छन्।, चारैतिरबाट उस्तै देखिने यो घरलाई ‘कृष्ण भवन’ नाम दिइएको रहेछ। नौ तले भवनको कुनै हिस्सामा दरबारको, कतै हवेली, मन्दिर, मस्जिद, चर्चको झल्को आउँछ। बिल्कुलै नौलो डिजाइनमा बनेको यो भवन अचेल सामाजिक सञ्जालमा ‘भाइरल’ भइरहेको छ। अन्य जिल्लाबाट भरतपुर आइपुगेकाहरू समेत भाइरल घर खोज्दै यहाँ पुग्ने गर्छन्।  , यो भवनको अघिल्तिर करिब दुई घन्टा बिताइसकेपछि मलाई यसका विषयमा जान्ने इच्छा लाग्यो। नजिकैका केही घरमा पुगेर मैले बंगलाका धनीको विषयमा सोधें। ‘उनी काठमाडौं बस्छन्, बेला-बेला मात्र आउँछन्’ भन्दा बढी जानकारी पाउन सकिनँ। उनको मोबाइल नम्बर भने पत्ता लाग्यो।, करिब १९ वर्ष अमेरिका बसेर फर्किएका राजेन्द्रप्रसाद उप्रेतीले बनाएका रहेछन्, यो घर। काठमाडौंको मातातिर्थमा 'खुसीखुसी' नामको होटल चलाउने उप्रेतीको परिवार २०३८ सालमा चितवनबाट बसाइँ सरेर काठमाडौं गएको थियो। उनका बाबु कृष्णप्रसाद उप्रेती २०१२ सालमा नुवाकोटबाट बसाइँ सरेर पूर्वी चितवनको शान्ति बजार पुगेका थिए।, ‘मेरो परिवारलाई व्यापारिक घराना भन्दा पनि हुन्छ। बुवा व्यापार गर्नुहुन्थ्यो, चितवन र काठमाडौंमा हाम्रो परिवारको पैतृक सम्पत्ति प्रशस्तै थियो। मैले त्यही जमिन बेचेर पदमपुरको कृष्ण भवन बनाउन थालेको हुँ,’ उप्रेतीले भने।, २०२८ सालमा जन्मिएका उप्रेती २०५२ सालतिर पढ्न अमेरिका पुगेका थिए। त्यहाँ उनले पढाइभन्दा काममा जोड दिए। कमाइ पनि राम्रो हुँदै गयो। बिस्तारै आफ्नै लगानीमा व्यापार गर्न थाले। अरूको काम गर्ने उनी विदेशीलाई काममा लगाउने अवस्थामा पुगे।, ‘व्यापारमा पनि मैले राम्रै गरिरहेको थिएँ तर पछि मेरो पार्टनरसिपको व्यापार जम्न सकेन, धेरै घाटा लाग्यो,’ उनले भने, ‘विदेश बसेको १९ वर्ष भइसकेको थियो। घाटा सहेर विदेशमै बसिराख्नभन्दा देश फर्किएर केही गर्छु भन्ने सोचें। मबाट अमेरिकाले धेरै कमायो, अब मैले आफ्नो देशलाई केही दिनुपर्छ भन्ने पनि लाग्यो।’, २०७२ सालको भूकम्पअघि उनी नेपाल फर्किएका थिए। चितवन र काठमाडौंमा रहेको जमिनको प्रयोग गरेर कुनै काम सुरू गर्ने चाहना राखेर स्वदेश फर्किए पनि भूकम्पले पारेको असरका कारण उनले तत्कालै केही गर्न सकेनन्।, ‘विभिन्न देशहरू घुमेपछि मलाई देश चिनाउने मानव निर्मित संरचनाको विषयमा चासो बढेको थियो। हाम्रो देशलाई विदेशीहरू सगरमाथा, बुद्ध, गोर्खालीका गाथाहरूबाट चिन्छन्। म कुनै यस्तो संरचना बनाउँछु जसलाई देशले त चिन्छ नै विश्वले पनि नयाँ अनुभुति गरोस् भन्ने लाग्थ्यो,’ उप्रेतीले भने, ‘त्यही कुरा खोज्दै जाँदा यो भवनको आइडिया आयो।’, उनले दुबईको पहिचान बनेको बुर्ज खलिफा, पेरिसको पहिचान बनेको आइफल टावरजस्तै अनौठो संरचना नेपालमा बनाउन चाहेका थिए। , आफूले कल्पना गरेको कुरा उप्रेतीले धेरै इन्जिनियरलाई सुनाए। कल्पनाअनुसारको नक्सा कोर्न लगाए तर सोचेजस्तो नक्सा बनेन। त्यसपछि उनी आफूले कल्पेको संरचना बनाउन आफैं अघि सरे।, भरतपुरबाट करिब १० किलामिटर पर रहेको पदमपुरमा ७ कठ्ठा जमिन किनेर उनले २०७६ पुसबाट यो घर बनाउन थालेका थिए। केही समयमै कोरोना महामारीले काम बन्द गराइहाल्यो।, ‘मसँग घरको नक्सासम्म थिएन, न त कुनै योजना र औपचारिक डिजाइन थियो। इँटा जोडेर घर बनाउन जान्ने मिस्त्री, लेबरहरू खोजेर कल्पना अनुसारको घर बनाउन सुरू गरें,’ उनले भने, ‘बनाउँदै जाँदा मन नपरेर धेरै भाग भत्काउन लगाएको पनि छु। अब भने घरले आकार लिन थालेको छ।’, यो भवनलाई दरबार, हवेली, बंगला, प्यालेस, महल, भिल्ला नाम दिएको उनलाई मन पर्दैन। त्यसैले उनले यसको सामान्य नाम राखेका छन्- कृष्ण भवन।, ‘भगवानसँग पनि जोडिने, आफ्नो बुबाको नामसँग पनि जोडिने भएकाले मैले सामान्य नाम राखेको छु तर मान्छेहरूले भाइरल घर, बंगला भनेर चिन्न थालेका छन्,’ उनी हाँसे।, घरले आकार लिन थालेपछि हेर्न आउने मान्छेको भीड लाग्न थालेको उप्रेतीले बताए।, ‘के बनाउन खोजेको, किन बनाउन खोजेको भनेर धेरैले सोधीखोजी गरे,’ उनले भने, ‘मैले धेरै कमाएर यो भवन बनाएको होइन। यसमा मैले कमाएको एक डलर पनि खर्च भएको छैन। सबै पैसा पैतृक सम्पत्ति बेचेर खर्च गरेको हुँ। निर्माण सकिएपछि यो केका लागि प्रयोग हुन्छ भन्ने एकिन गरिसकेको छैन।’, मान्छेको भीडभाड बढ्दै गएको देख्दा उनलाई आफूले बनाएको भवन सार्वजनिक स्थलजस्तो भइसकेको अनुभूति भएको छ।, ‘फिनिसिङ नहुँदै पर्यटकको ओइरो लागिरहेको छ। सामाजिक सञ्जालमा भाइरल बनेपछि विदेशीले पनि सोधपुछ गर्न थालेका छन्। भीडभाड भएर क्षति नपुगोस् भनेर तारजालीले घेर्नुपर्‍यो। बनिसकेपछि त यो अझै आकर्षक देखिन्छ, त्यसले पर्यटकलाई थप आकर्षित गर्छ भन्ने लाग्छ,’ उप्रेतीले भने, ‘५४ हजार स्क्वायर फिटमा बनेको ९ तल्ले भवन संग्रहालय, होटल वा अन्य कुनै प्रयोजनमा आउन सक्छ।’, उनले भवनको बाँकी काम सक्ने केही वर्ष लाग्ने बताए।, नेपालीमात्रै नभएर विदेशीलाई पनि अनौठो लाग्ने घर बनाएर पर्यटक आकर्षित गर्ने सोचले यो संरचना बनाएको उप्रेतीले बताए। नेपालका हिमाल, जंगल मात्रै देखेका पर्यटकका लागि यो भवन गन्तव्य बन्न सक्ने उनी बताउँछन्।, ‘भएको पैसा ब्याजमा लगाएर आनन्दले जीवन बिताउन पनि सक्थें तर मलाई त्यसो गर्न मनले दिएन। कि कवाड हुन्छ कि बबाल हुन्छ भनेरै बनाउन थालेको हुँ, धेरैले बबालै गरिस्, कल्पनाभन्दा बाहिरको काम गरिस् भन्ने गर्नुभएको छ,’ उनी भन्छन्, ‘म एक व्यक्तिले चाहँदा पर्यटनमा केही गर्न सक्ने रहेछु। अब यसलाई राज्यले पनि सहयोग गर्‍यो भने देशलाई नै फाइदा हुन्छ जस्तो लाग्छ।’, उनले नेपालमा रेमिटेन्समात्रै आर्थिक स्रोतजस्तो देखिए पनि पर्यटन र कृषिमा ठूलो सम्भावना रहेको बताए।, ‘रेमिटेन्स पनि अनुत्पादक क्षेत्रमा बढी खर्च भइरहेको र विदेश जानेहरू देशमै फर्केर केही गर्छु भनेर फर्कने क्रम कम भएका कारण हामी पछि परिरहेका छौं,’ उनी भन्छन्, ‘मलाई यो भीडमा केही नयाँ गर्नुपर्छ भन्ने लाग्यो र यो अनौठो घरको सपनालाई अघि बढाएँ।’, उप्रतीले विश्वमा आफूले देखेका धेरै संरचनाहरूको झल्को आउने गरी यो घर तयार पार्न लागेको सुनाए।, कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले आफ्नो नगरपालिकाभित्र बनेको घर हेर्न धेरै पर्यटकहरू आइरहेको देखेको बताए।, ‘घर कसले बनायो भन्ने त मलाई थाहा छैन। तर त्यो घर हेर्न धेरै मान्छेहरू आइराखेको जानकारी मलाई छ,’ उनले भने।  , चितवनमा कसले, किन बनाइरहेको छ दरबार जत्रो घर? (भिडिओ)
सेतोपाटी संवाददाता मधेशी आयोगले थारू र मुस्लिमलाई मधेशी समुदायको सूचीबाट हटाउने निर्णय गरेको छ। आयोगले मसिंर २० गते बैठक बसी नेपालमा मधेशी समुदायको थर सूचीकरण अध्ययन प्रतिवेदन-२०७८ बाट उपसमूह १ मा रहेको थारू र २ मा रहेको मुस्लिमलाई हटाउने निर्णय गरेको आयोगका अध्यक्ष विजयकुमार दत्तले बताए।, मधेशी आयोगले गरेको निर्णय कार्यन्वयनको लागि आयोगकी उपसचिव सबिता डंगोलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र पठाएकी छन्।, थारू र मुस्लिम समुदायका विभिन्न संघ-संगठनले थारू र मुस्लिम समुदायको छुट्टै पहिचान र सभ्यता रहेको र सो मधेशी समुदायसँग नमिल्ने भएकोले गर्दा मधेशी क्लस्टरमा आफूहरूलाई नराख्न मधेशी आयोगमा उजुरी दिएका थिए। आयोगका अध्यक्ष दत्तका अनुसार उक्त उजुरीमाथि आयोगले निर्णय लिँदै थारू र मुस्लिमलाई मधेशीबाट हटाउने निर्णय भएको हो।, मधेशी आयोगले २०७८/०७९ को वार्षिक प्रतिवेदनमार्फत् राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष थारू र मुस्लिमसहित १४९ जातलाई मधेशीको रूपमा सिफारिस गरेको थियो।, थारू र मुस्लिमलाई मधेशीबाट हटाउने आयोगको निर्णय
सेतोपाटी संवाददाता कालिकोटमा जेसिबी दुर्घटना हुँदा कर्णाली नदीमा बेपत्ता भएका दुई जनाको शव फेला परेको छ। , त्रिवेणी गाउँपालिका-१ स्थित कर्णाली नदीमा गत शनिबार फुकोट जलविद्युत आयोजनाको जेसिबी दुर्घटना भएको थियो। उक्त दुर्घटना हुँदा तीन जना बेपत्ता भएका थिए। , ती मध्ये दुई जनाको शव सशस्त्र प्रहरीको गोताखोरले फेला पारेको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। , बेपत्ता भएका मध्ये सोही गाउँपालिका-१ बस्ने २० वर्षीय उमेश गिरी र कैलाली लम्कीचुहा नगरपालिका-४ बस्ने २३ वर्षीय जेसीबीका चालक मंगल चुडारीको शव फेला परेको हो। , गिरीको शव सोमबार र चुडारीको मंगलबार फेला परेको हो। , सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म कालिकोट र नम्बर ४२ रिजर्भ गण बाँकेबाट गएको गोताखोरले उनीहरूको शव फेला पारेको हो।, उनीहरूसँगै दुर्घटनामा परी बेपत्ता सोही गाँउपालिकाका १९ वर्षीय रक्तिम सार्कीको खोजी भइरहेको छ। , गत शनिबार सो आयोजनाको सुरूङभित्र पानी हेरी फर्कदै गरेको प्रदेश नं.३ –०१–००३ क ६७७४ नम्बरको जेसिबी कर्णाली करिडोरबाट अन्दाजी ८० मिटर तल कर्णाली नदीमा खसेको थियो। जेसिबीमा रहेका आठ जनामध्ये दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो। तीन जना घाइते र तीन जना बेपत्ता भएका थिए। , जेसिबी दुर्घटना हुँदा कर्णाली नदीमा बेपत्ता भएका दुई जनाको शव फेला
सेतोपाटी संवाददाता कतारमा जारी विश्वकप २०२२को खेलमा बेटिङ गराएको आरोपमा एक एजेन्टलाई प्रहरीले पक्राउ गरेको छ। , काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक जना एजेन्टलाई पक्राउ गरेको प्रवक्ता एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए।, पक्राउ पर्नेमा महोत्तरी गाउँपालिका-१ घर भई ललितपुरको सानेपा बस्‍ने २० वर्षीय आदर्श ठाकुर छन्।, विश्वकप लगायत खेलमा प्रयोग हुने रूसी बेटिङ एप वानएक्स बेट मार्फत सट्टाबाजी लगाउन रकम संकलन गर्ने-गराउने एजेन्टहरू सक्रिय रहेको भन्ने सूचना प्रहरीले पाएको थियो। उक्त सुचना पाएपछि प्रहरीले सोमबार उनलाई पक्राउ गरेको हो। , उनीमाथि मुलुकी अपराध संहिताको दफा १२५ को उपदफा ४ बमोजिम सट्टाबाजी गर्न गराउन नहुने कसुर अन्तर्गत थप अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर ललितपुर पठाएको छ।, एसपी कोइरालाका अनुसार विगत ८ महिनादेखि सट्टेबाजीका एजेन्टको रूपमा कार्यरत थिए।, उनले रकम संकलन र भुक्तानीको आधारमा कमिसन पाउँथे। त्यसैले उनले डिजिटल वालेट खोल्न विभिन्न व्यक्तिको नेपाली नागरिकता समेत प्रयोग गरी खाता खोलेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। , उनले डिजिटल वालेटमार्फत संकलन गर्ने रकम नाबिल, सिद्धार्थ र एनआइसी एसिया बैंकम रहेको आफ्नो खातामा राख्थे।, उनले नाबिलबाट ६९ लाख ६ हजार ७७०, सिद्धार्थबाट ४५ लाख ५३ हजार ५२३ र एनआइसी एसियाबाट ८८ लाख २४ हजार १५५ गरी जम्मा २ करोड २ लाख ८४  हजार ४४८ रुपैयाँको कारोबार गरेको अनुसन्धानबाट देखिएको छ। , प्रहरीले ४८५ वटा विभिन्न सेवा प्रदायकहरूका डिजिटल वालेटको कारोबार समेत रोक्का राखेर अनुसन्धान अघि बढाएको छ।, प्रविधिको दुरूपयोग गरी बेटिङ, ठगी लगायतका अन्य कानुन विपरीतका काम गर्नका लागि व्यक्तिका परिचय पत्रहरूका समेत दुरूपयोग भइरहेको हुँदा आफ्ना कागजातहरू कहिँकतै कसैलाई दिँदा सावधानी अपनाउन र यस्ता गतिविधीहरू थाहा भएमा प्रहरीलाई जानकारी दिन कार्यालयले अनुरोध गरेको छ।, विश्वकपको बेटिङमा दुई करोड बढी कारोबार, सानेपाबाट एक एजेन्ट पक्राउ
सेतोपाटी संवाददाता नेपाल प्रहरीका १३ जना पूर्व प्रहरी महानिरीक्षक (आइजिपी) हरूले सरकारले हालै ल्याएको अध्यादेश फिर्ता लिन अपिल गरेका छन्।, सरकारले टीकापुर हत्याकाण्डमा दोषी ठहर भएका रेशम चौधरीलगायतलाई रिहा गर्न मिल्ने गरी ल्याएको अध्यादेश अहिले राष्ट्रपति कार्यालयमा छ।, राष्ट्रपतिले अध्यादेश प्रमाणीकरण गर्न बाँकी रहेका बेला बैठक बसेर पूर्वआइजिपीहरूले उक्त अध्यादेश संविधानको मर्मविपरीत, सर्वोच्च अदालतबाट जारी निर्णय र नजिरहरूको बर्खिलाप र फौजदारी न्याय प्रणालीको विपरीत भएको बताएका छन्।, उनीहरूले भनेका छन्- यसबाट बहालवाला तथा निवर्तमान सुरक्षाकर्मी र निजका परिवारहरूलाई हतोत्साही र निराश बनाएकाले अध्यादेश तत्काल खारेज गर्न जोडदार अपिल गर्दछौं।, यसरी अपिल गर्नेहरूमा पूर्वप्रहरी महानिरीक्षकहरू मोतीलाल बोहरा, अच्यूतकृष्ण खरेल, ध्रुवबहादुर प्रधान, श्यामभक्त थापा, ओमविक्रम राणा, रमेश चन्द ठकुरी, रवीन्द्रप्रताप शाह, कुवेरसिंह राना, उपेन्द्रकान्त अर्याल, प्रकाश अर्याल, सर्वेन्द्र खनाल, ठाकुरप्रसाद ज्ञवाली र शैलेश थापा क्षेत्री छन्।, सरकारले ल्याएको अध्यादेश खारेज गर्न १३ पूर्वआइजिपीको अपिल
सेतोपाटी संवाददाता कोरोना महामारीको समयमा भारतबाट नेपाल भित्रिने यात्रुलाई लक्षित गरी निर्माण गरिएको वीरगञ्जस्थित होल्डिङ सेन्टर अलपत्र परेको छ।, तत्कालीन समयमा विद्यालय तथा कलेजमा क्वारेन्टिन बनाउँदा चर्को आलोचना भएपछि सरकारले विसं २०७८ वैशाख ५ गते मुलुकका विभिन्न आठ नाकामा होल्डिङ सेन्टर निर्माण सुरु गरेको थियो।, सरकारले २०७८ साल असार २५ देखि वीरगञ्ज भन्सार कार्यालयको पश्चिमपट्टिको गोदाम नजिक करिब दुई बिघा जग्गामा होल्डिङ सेन्टर निर्माण सुरु गरेको थियो।, नेपाली सेनाको व्यवस्थापकीय जिम्मेवारीमा हनुमान कन्स्ट्रक्सनले होल्डिङ सेन्टर निर्माणका लागि ठेक्का पाएको थियो। निर्माण सुरु भएको नौ महिनै अर्थात् २०७८ साल चैत मसान्तमा होल्डिङ सेन्टरको निर्माण सकिएको थियो।, पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले होल्डिङ सेन्टर सरकारले सञ्चालनको निर्णय गरेपछि हस्तान्तरण हुने बताए।, उनका अनुसार होल्डिङ सेन्टरमा २८ करोड रुपैयाँ लगानी भएको छ भने ६० वटा भवन छन्। जसमा १३ वटा भान्सा घर, २२ वटा शौचालय तथा एक हजारभन्दा बढी मानिस अट्ने २२ वटा क्वारेन्टिन भवन छन्। क्वारेन्टाइनमा नौ सय शय्यामा सामान्य लक्षण भएकालाई राखिने र बाँकी एक सय शय्यामा जटिल अवस्थाका बिरामीलाई राखिनेछ।, साथै सरकारी प्रतिनिधिका लागि तीनवटा एसीसहितका भवन निर्माण गरिएको छ। निर्माण कम्पनीका साइट इञ्चार्ज विशाल दाहालका अनुसार होल्डिङ सेन्टर हस्तान्तरणमा ढिलाइका कारण आर्थिक तथा सुरक्षाको चुनौती थपिएको छ।, सेन्टरबाट केही समयअघि १६ वटा पंखा चोरी भएको थियो। हाल होल्डिङ सेन्टरमा दुई सशस्त्र प्रहरी र एक नेपाल प्रहरीलाई सुरक्षाका लागि खटाइएको छ। ,रासस, २८ करोडमा निर्माण गरिएको ‘होल्डिङ सेन्टर’ अलपत्र
सेतोपाटी संवाददाता काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ चलाल गणेस्थानमा मंगलबार साँझ भएको बस दुर्घटनामा मृत्यु भएकामध्ये १३ जनाको पहिचान खुलेको छ।, प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार बनेपा नगरपालिका–११ की ७९ वर्षीया निर्मला तामाङ, ११ वर्षीय योगेश तामाङ, ५० वर्षीय अंकुर तामाङ, ४३ वर्षीया हेमा तामाङ, १० वर्षीय पुष्कर तामाङ, २५ वर्षीया कोपिला तामाङ र ६ वर्षीया श्रेया तामाङको मृत्यु भएको छ।, त्यस्तै बनेपा नगरपालिका–१४ का ३९ वर्षीय राजकुमार तामाङ, २८ वर्षीया गीता श्रेष्ठ, मण्डनदेउपुर नपा–१ का ३७ वर्षीया जेली तामाङ, धुलिखेल नपा–११ का ३० वर्षीय बुद्ध तामाङ र बेथानचोक गाउँपालिका–५ की ३२ वर्षीया मञ्जु तामाङको पनि मृत्यु भएको छ।, बस चालक ललितपुरको महाँकाल–४ घर भई हाल पनौती नपा–४ बस्ने २२ वर्षीय सन्तोष तिमल्सिनाको पनि दुर्घटनामा मृत्यु भएको जोशीले बताए।, घाइते केहीको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ। मृतकमध्ये चार जनाको नाम खुल्न बाँकी छ।, प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार बस अत्यधिक गतिमा गुडेर दुर्घटना भएको हो। बस सडक मोडको भित्तामा ठोक्किएपछि दुर्घटनाग्रस्त भएको थियो। बसमा ३९ यात्रु सवार थिए।, घाइतेको धुलिखेल अस्पताल, बनेपास्थित शिर ममोरियल अस्पताल, मध्यपुर ठिमी अस्पताल, वीर अस्पताल, न्यूरो अस्पताल बाँसबारी लगायतमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताइन्।, बा ३ ख ४३८५ नम्बरको रिजर्भ बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन्। मृत्यु भएकामध्ये सात जना बनेपाको एउटै वडाका छन्। बनेपा नगरपालिका–११ का कुमार तामाङको नातिको व्रतबन्धमा बेथानचोक गाउँपालिका–५ च्याल्टी पुगेर फर्किंदै गरेको बस दुर्घटनामा परेको हो।, काभ्रे बस दुर्घटनामा मृत्यु भएकामध्ये १३ जनाको खुल्यो पहिचान
सेतोपाटी संवाददाता सिराहामा एक जना महिलाको हत्या भएको छ। , मंगलबार दिउँसो ३ बजे जंगलमा घाँस काट्न गएकी एक जना महिलाको हत्या भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुवास बुढाथोकीले जानकारी दिए। , मृत्यु हुनेमा मिर्चौया नगरपालिका-१ की ३० वर्षीया लक्ष्मीनियाँ कापर छिन्।, डिएसपी बुढाथोकीका अनुसार उनी दिउँसो घाँस काट्न गएकी थिइन्। त्यही बेला दुई जना युवकले उनीमाथि खुकुरी प्रहार गरेका थिए।, दुई जना घटनामा संलग्न भएको उनले बताए। त्यसमध्ये एक जना पक्राउ परेका छन्।, पक्राउ पर्नेमा सोही ठाउँका अन्दाजी १९ वर्षीय शंकर मण्डल छन्। अर्का फरार छन्। , ‘उनीहरू चिनजानकै हुन्। के-कारणले हत्या भएको खुलिसकेको छैन। अनुसन्धान हुँदैछ,’ उनले भने।, घटना भएपछि स्थानीय तथा आफन्तले प्रदर्शन समेत गरेका थिए। अहिले उक्त प्रदर्शन पनि रोकेको डिएसपी बुढाथोकीले बताए। , शवको मुचुल्का उठाएर पोष्टमर्टमको लागि अस्पताल लग्ने तयारी भइरहेको उनले बताए।  ,  , सिराहामा एक महिलाको हत्या, एक पक्राउ
सेतोपाटी संवाददाता मोटरसाइकलको ट्यांकी भित्र २४ लाख बढी रकम लुकाएर ल्याएको आरोपमा एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ।, धनुषाको विदेह नगरपालिका-९ इटहर्वा स्थित सीमा इलाकाबाट २३ वर्षीय भारतीय नागरिक उमेश कुमारलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो।, उनलाई मंगलबार सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीको टोलीले पक्राउ गरेको सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।, उनी भारतबाट नेपालतर्फ प्रदेश २-०२–००५ प ५७९८ नम्बरको मोटरसाइकलमा आउँदै थिए। उनले मोटरसाइकलमा पैसा लुकाएर ल्याउँदै गरेको भन्ने विशेष सूचना प्रहरीले पाइसकेको थियो। , उक्त सूचनाको आधारमा खटिएको टोलीले कुमारको मोटरसाइकल चेक गरेको थियो। च‍ेक गर्दा २४ लाख १७ हजार रुपैयाँ बरामद भएको हो। , पक्राउ परेका कुमारमाथि थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय धनुषामा पठाएको छ। बरामद भएको रकम र मोटरसाइकल भन्सार कार्यालय जनकपुरमा बुझाएको डिएसपी थापाले बताए।, मोटरसाइकलको ट्यांकीमा फेला पर्‍यो २४ लाख, एक पक्राउ
सेतोपाटी संवाददाता काभ्रेको बेथानचोक गाउँपालिकाको वडा नम्बर ४ स्थित चलाल गणेशस्थानमा मंगलबार साँझ बस दुर्घटनामा परी १७ जना यात्रुको मृत्यु भएको छ। , जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी चक्रराज जोशीका अनुसार मंगलबार साँझ ६ बजेतिर बनेपा नगरपालिका वडा नम्बर ११ बाट ब्रतबन्धका लागि बेथानचोक- ५ स्थित च्याल्टी पुगेर फर्किँदै गरेको बा ३ ख ४३८५ नम्बरको रिजर्भ बस दुर्घटना भएको हो।, हालसम्म १७ जनाको मृत्यु पुष्टि भएको उनले बताए।, जिल्ला प्रहरी कार्यालय काभ्रेकी डिएसपी अन्जना श्रेष्ठका अनुसार दुर्घटनामा परी २२ जना घाइते छन्। उनीहरूको शिर मेमोरियल अस्पताल र धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। तीन जनालाई भने काठमाडौं रिफर गरिएको उनले बताइन्।, घाइतेको तत्काल उद्धार गरी उपचारका लागि अस्पतालसम्म पुर्‍याउने व्यवस्था गर्न गृह प्रशासन, काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र एसपी जोशीलाई गृहमन्त्री बालकृष्ण खाणले निर्देशन दिएका थिए।, घाइतेको उपचार गर्न जिल्लाको स्रोत र साधनले नपुग्ने भए मन्त्रालयबाट तत्काल व्यवस्था गर्न गृहसचिव विनोदप्रकाश सिंहलाई निर्देशन दिइएको पनि गृह मन्त्रालयले जनाएको छ।, काभ्रेमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु
सेतोपाटी संवाददाता नेपाल स्काउटले लैनचौरस्थित ३ रोपनी जग्गा र पार्किङस्थल खाली गर्न निर्देशन दिएको छ।, यो जग्गा खड्का डेभलपमेन्ट प्रालिले सम्झौताविपरीत भोगचलन गर्दै आएको स्काउटको भनाइ छ।, ‘मुलुकी देवानी संहिता २०७४ को परिच्छेद १२ दफा ६१९ बमोजिम ३५ दिनभित्र स्थान खाली गरी, बाँकी रहेको हरहिसाबसमेत हरफार गरी, नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयमा जानकारी गराउन खड्का लैण्ड डेभलपमेन्ट प्रालि बूढानिलकण्ठको नाममा यो सूचना जारी गरिएको छ’ आज गोरखापत्रमा स्काउटले निकालेको सूचनामा भनिएको छ।, लैनचौरस्थित खानी विभागसँग जोडिएको ३ रोपनी जग्गा तथा पार्किङस्थल खाली गर्नुपर्ने पनि स्काउटको भनाइ छ।, २०७९ असार १३ को उच्च अदालत पाटनको फैसाका आधारमा खड्का लैण्ड प्रालिले उक्त जग्गा खाली गर्नुपर्ने पनि नेपाल स्काउटको भनाइ छ।, खड्का प्रालिले २०६५ सालमा सम्झौता गरी १० वर्ष जग्गा भोगचलन गरेको थियो। २०७५ सालदेखि सम्झौता मिति सकिएको थियो।, लैनचौरमा रहेको स्काउटको जग्गा र पार्किङस्थल ३५ दिनभित्र खाली गर्न निर्देशन
रासस अर्घाखाँचीमा 'हामी सादा पोशाकमा खटिएका प्रहरी हौं' भन्दै अभद्र व्यवहार गर्ने दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।, पक्राउ पर्नेमा भूमिकास्थान नगरपालिका–६ खिल्जीका ३५ वर्षीय बाबुराम पौडेल र मालारानी गाउँपालिका–५ बागीका २० वर्षीय दीपक केसी रहेको प्रहरी नायब उपरीक्षक मुकुन्द भण्डारीले बताए।, उनीहरूले सन्धिखर्क नगरपालिका बसपार्क क्षेत्रमा 'हामी नेपाल प्रहरीका सादा पोशाकमा खटिएका प्रहरी हौं' भन्दै मादक पदार्थ सेवन गरी बसपार्क वरपरका होटल तथा पसल लगायतमा जाँच गर्ने, स्थानीय व्यक्तिहरूलाई डर, त्रासमा पारी गालीगलौज तथा अभद्र व्यवहार गर्ने गरेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट प्रहरी निरीक्षक अर्जुन पौडेलको कमाण्डमा खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो।, नियन्त्रणमा लिई सोधपुछ गर्दा उनीहरूले उल्टै प्रहरीमाथि हातपात, गालीगलौज तथा अभद्र व्यवहार गरेका थिए। उनीहरूलाई जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कर्यालय अर्घाखाँचीले जनाएको छ।, प्रहरी भन्दै अभद्र व्यवहार गर्ने दुई जना पक्राउ
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकासहित देशभरको मौसम चिसिदै गएको छ। आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम ६.५ डिग्री मापन गरिएको छ। यस्तै अधिकतम तापक्रम १९ डिग्रीको अनुमान गरिएको छ।, मौसमविदका अनुसार अब देशभर चिसो बढ्दै जानेछ। मौसमविद हिरा भट्टराईका अनुसार तापक्रम घट्ने क्रममा छ। अब चिसो क्रमशः बढ्दै जान्छ। पछिल्लो केही दिन यता न्यूनतम् तापक्रम क्रमशः घटिरहेको छ। , हाल पश्चिम तराई, मध्य तराई र पूर्वी तराईका केही क्षेत्रमा हुस्सु लागेको छ। तर, मध्यान्हपछि क्रमिक रूपमा सुधार हुँदै जाने महाशाखाले जनाएको ।, तराईका जिल्लामा लागेको हुस्सु अब बिस्तारै पहाडी जिल्लामा बढ्दै जानेछ।, मौसम दुई तरिकाले चिसो हुन्छ। एउटा अधिकतम तापक्रम घटेर र अर्को न्यूनतम तापक्रम घटेर। डम्म बादल लाग्यो भने बादलले ब्ल्यांकेटको काम गर्छ र अधिकतम तापक्रम घट्छ। बादल लागेन भने न्यूनतम तापक्रम घट्छ र चिसो हुन्छ। अहिले चिसो भएको न्यूनतम तापक्रम घटेर हो। यस्तै यतिबेला रात लामो हुने भएको र सूर्यको प्रकाश पनि कडा नहुने भएकाले चिसो बढ्छ।, दिनभर घाम लागे पनि बिहान र बेलुका जाडो बढेको महसुस हुन थालेको उनले बताए।, हाल सबैभन्दा कम तापक्रम जोमसोममा माइनस ४.५, जुम्लामा माइनस ३, र जिरिमा १.५ रहेको छ।, पानी पर्‍यो भने पनि जाडो बढ्छ। तर अहिले तत्काल पानी पर्ने कुनै सम्भावना नरहेको मौसमविद भट्टराईले बताए।, केही दिनदेखि तराईमा हुस्सु र कुहिरो लाग्न थालेको छ। तराईसहित अरु क्षेत्रमा तापक्रम क्रमिक रूपमा घट्दो छ ।, तराईमा तीन/चार दिनदेखि बिहान हुस्सु र कुहिरो लाग्ने गरेको हो । हुस्सु र कुहिरो लागेको बेलामा दुर्घटनाको जोखिम हुने भएकाले गाडी चलाउँदा ख्याल गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ । कुहिरो तथा हुस्सु लागेका बेला ती क्षेत्रमा सामान्य गतिमा र बत्तीको  प्रयोग गरी गाडी चलाउन ट्राफिक प्रहरीको आग्रह छ ।, आज प्रदेश एक, गण्डकी र कर्णालीका केही पहाडी क्षेत्रमा मौसम आंशिक बदली हुने अनुमान छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश एक, गण्डकी र कर्णालीका पहाडी केही क्षेत्रबाहेक अरु ठाउँको मौसम समान्यतया सफा नै छ ।, महाशाखाले चिसोबाट जोगिन आवश्यक तयारी र सावधानी अपनाउन पनि अनुरोध गरेको छ । , देशभर चिसो बढ्यो, केही दिनदेखि तराईमा हुस्सु र कुहिरो
डा. प्रभात चन्द्र ठाकुर मानिसको रूद्रघन्टीको तल रहेको एउटा ग्रन्थी थाइरोइड हो। यसले उत्पादन गर्ने हर्मोनलाई थाइरोइड हर्मोन भनिन्छ। यसै ग्रन्थीमा देखिने समस्या र यसले उत्पादन गर्ने हर्मोनको सन्तुलन बिग्रिएमा थाइरोइडसम्बन्धी रोग लाग्छ ।, थाइरोइड हर्मोनको उत्पादन बढी भए पनि र कम भए पनि समस्या हुन्छ। बढी भएमा हाइपर थाइरोडिजम भनिन्छ भने कम उत्पादन भए हाइपो-थाइरोडिजम।, समाजमा अधिकांशलाई यी समस्या हुन्छन्। यी दुवै अवस्थाको उपचार सहज हुन्छ।  थाइरोइड ग्रन्थीमा कहिलेकाहीँ मासु पलाएर क्यान्सरमा बदलिन सक्छ। यसैलाई थाइरोइड क्यान्सर भनिन्छ।, यो क्यान्सरको उपचार अरुरूक्यान्सरको तुलनामा धेरै सहज छ। उपचार गरेपछि निको हुने सम्भावना पनि धेरै हुन्छ। यसका धेरै बिरामीमा कुनै लक्षण देखिदैन। घाँटी दुख्ने लगायतका केही कारणले भिडिओ एक्सरे गर्दा त्यहाँ डल्लो देखिने हो।, कहिलेकाहीँ घाँटी सुन्निएको हुन्छ। त्यस्तो अवस्थामा समेत क्यान्सर भएको अनुमान गर्न सकिन्छ।, रोग बढ्दै गएपछि श्वास फेर्न गाह्रो हुने, आवाजमा सुख्खापन आउने, खानेकुरा निल्न गाह्रो हुनेलगायतका लक्षणहरु हुनसक्छन्।, पहिला यो रोग के हो भनेर पत्ता लगाउनुपर्छ। रोगको प्रकृति अनुसार उपचार गरिन्छ।, थाइरोइड क्यान्सर किन हुन्छ, यसको उपचार कसरी गर्ने लगायतका विषयमा केन्द्रीत रहेर हामीले नेपाल क्यान्सर अस्पताल र अनुसन्धान केन्द्रमा कार्यरत नाक कान घाँटी तथा थाइरोइड क्यान्सर रोग विशेषज्ञ डा. प्रभात चन्द्र ठाकुरसँग भिडिओ कुराकानी गरेका छौं।, हेर्नुहोस् भिडिओ, के हो थाइरोइड क्यान्सर, कसरी हुन्छ उपचार? (भिडिओ)
सेतोपाटी फोटो टिम सेतोपाटी फोटो टिमले देशको राजनीति, समाज, कला, खेलकुद, घुमफिरलगायत क्षेत्रबाट छानिएका तस्बिरहरूको संगालो ‘यो साताका क्लिक’ मा प्रस्तुत गरेको छ।, आजको शृंखलामा हामीले मंसिर १७ मंसिर २३ गतेसम्म खिचिएका केही महत्वपूर्ण तस्बिर समेटेका छौं।, राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर–अमेलिया सडक खण्डको जंगलबाट बाबियो काटेर घर तर्फ फर्किदै गरेका स्थानीय चौधरी समुदायका महिला पुरुष । तस्बिर – नारायण खड्का/ सेतोपाटी, पूर्व पश्चिम राजमार्ग अन्तरगत बाँके राष्ट्रिय निकुञ्जमा पर्ने राप्ती सोनारी गाउँपालिकामा पर्ने सडक खण्डमा देखिएका बाँदेरको बथान । तस्बिर – नारायण खड्का /सेतोपाटी ।, जाजरकोटको छेडागाड नगरपालिका-६ सुवानाउलीस्थित सडक छेउमा खानेकुरा पठाउन गाडी कुरेर बसेका एक हजुरबुबा। सुर्खेतमा पढ्न बसेका नाती-नातिनालाई उनले गाउँबाटै खाद्यान्नदेखि तेलसम्म पठाउँछन्। तस्बिरः दीपक जंग शाही/सेतोपाटी, आठौं लुम्बिनी राष्ट्रिय महोत्सवको उद्घाटनको अवसरमा निकालिएको र्‍यालीमा लुम्बिनीस्थित मायादेवी मन्दिरको प्रतिरुप सहित सहभागि विद्यार्थीहरु । तस्बिरः भगवती पाण्डे, रुपन्देहीको भैरहवामा शुक्रवारदेखि संचालित आठौं लुम्बिनी राष्ट्रिय महोत्सवको उद्घाटनको अवसरमा रथयात्रामा सहभागि पञ्चकन्याहरु। तस्बिरः भगवती पाण्डे/सेतोपाटी, नेवारी समुदायले मनाउने योमरि पुन्हीको अवसरमा योमरि बनाउँदै महिला । तस्बिर नारायण महर्जन/सेतोपाटी, ललितपुरको ग्वार्कोमा फ्लाइओभर निर्माणको काम सुरू भएपछिको जाम। तस्बिर: निशा भण्डारी।, उधौली पर्वको अवसरमा ललितपुरको हात्तिवनमा परम्परागत पोशाकमा आएकी युवती। तस्बिर: निशा भण्डारी, पोखरा विमानस्थलमा जहाज दुर्घटनापछि उद्धारको पूर्वअभ्यास। तस्बिर: युवराज श्रेष्ठ, निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक्न धर्नामा बसेका वकिलहरू। तस्बिर: निशा भण्डारी , साताका क्लिक
सेतोपाटी संवाददाता मेलम्चीको पानी काठमाडौंमा तेस्रो पटक वितरण भएको छ। तर पनि उपत्यकावासीहरु हर्षित छैनन्।, पानीको हाहाकार हुने काठमाडौंमा मेलम्चीको पानी वितरण पानी छेलोखेलो हुने आश उपत्यकावासीले गरेका थिए। मेलम्चीको पानी वितरण भइसकेपनि उपत्यकावासीका सास्ती उस्तै छन्।, लामो लाइन लागेर सार्वजनिक धारोहरुमा पानी थाप्ने मानिसहरुको संख्या आज पनि उल्लेख्य देखिन्छ। पानी वितरण शुरु भए पनि उपत्यकाका विभिन्न सार्वजनिक धाराहरुमा पानी थाप्न बिहानैदेखि मानिसहरुको भीड छ।, पानीको समस्या मेलम्चीको पानी आइसक्दासमेत उस्तै छ। व्यवस्थापनको पाटो राम्रोसँग हुन नसके वर्षा याममा झनै समस्या देखापर्ने निश्चित छ।पानीको अभाव खड्किरहने काठमाडौं उपत्यका यतिबेला मेलम्चीको पानी वितरणसँगै राहत महशुस गर्नुपर्ने हो।, शुक्रवार खानेपानीमन्त्री उमाकान्त चौधरीले मेलम्चीको खानेपानी पुनः वितरण शुभारम्भ गरेका थिए। शुभारम्भ कार्यक्रममा उनले काठमाडौंवासीलाई अस्थायी रुपमै भएपनि १२ महिना नै पानी खुवाउने प्रतिवद्धता जनाएका थिए। तर मेलम्चीको पानी काठमाडौं आइसक्दासमेत काठमाडौंवासीले सहजताको अनुभुति गर्न सकेका छैनन्।, मेलम्चीको पानी महांकाल पानी पोखरीबाट ८५ लाख लिटर, ललितपुर खुमलटार नयाँ पोखरीबाट १ करोड ९० लाख लिटर, बालाजु पुरानो पोखरीबाट ३६ लाख, कीर्तिपुर नयाँ पोखरी ६० लाख, टिगानी मध्यपुर थिमी नयाँ पोखरीबाट ३० लाख, कटुञ्जे भक्तपुर नयाँ पोखरीबाट ६० लाख, बाँसबारी महाराजगञ्ज पुरानो पोखरीबाट २० लाख, पानी पोखरी महाराजगञ्ज नयाँ पोखरीबाट ४५ लाख, मिनभवन पुरानो पोखरीबाट ३० लाख लिटर र अनामनगर पुरानो पोखरीबाट २७ लाख लिटर गरी कुल ५ करोड ८३ लाख लिटर पानी वितरण हुने बताइएको छ।, तर पनि सार्वजनिक धारोहरुमा पानी थाप्ने मानिसहरुको लाइन कम देखिँदैन। हाल काठमाडौं उपत्यकामा खोनेपानीको माग दैनिक ४३ करोड लिटर भएपनि आपूर्ति करिव १२ करोड लिटर मात्रै रहेको थियो। तर शुक्रवारबाट मेलम्ची आयोजनाबाट दैनिक १७ करोड लिटर पानी वितरणसँगै अवस्था केही सहज हुने अनुमान गरिएको छ।, न्युज एजेन्सी नेपालका फोटो पत्रकारले पानी थाप्न लाइन बसेका आम सर्वसाधारणका काठमाडौंवासीका तस्बिरहरु आजको फोटो फिचरमा। , उपत्यकामा पानीको समस्या उस्तै (फोटोफिचर)
चन्द्र काफ्ले सात वर्षअघि विद्यार्थीका रूपमा अस्ट्रेलिया आएका ३५ वर्षीय युवाका लागि सिड्नीमा आफ्नै व्यवसाय गर्नु कल्पनाको कुरा मात्र थियो।, गुल्मीका विनोद कुँवरले त्यो कल्पना साकार गरेका छन्। आज उनी सिड्नीमा बसोबास गर्ने नेपाली समुदायमाझ एक सफल व्यवसायीका रूपमा चिनिन्छन्।, उनी अस्ट्रेलिया आउँदा १८ लाख रूपैयाँभन्दा बढी ऋणको भार थियो। आमाबुवाले पनि छोरा अस्ट्रेलिया पुगेपछि पैसा पठाउँछ अनि ऋण तिर्छ भन्ने आशा राखेका थिए। त्यही भएर अस्ट्रेलिया आएको केही समयमै विनोदले हाउस-किपिङ तालिम लिए। तालिम सकेपछि काम खोजिदिन साथीहरूसँग आग्रह गरे। उनी साथीहरूलाई भन्थे, 'तिमीहरू मलाई काम खोजिदेऊ, म कलेजको असाइनमेन्टमा मद्दत गर्छु।', 'म पढाइमा भन्दा कामतिर बढ्ता फोकस भएँ,' विनोद भन्छन्, 'जतिसक्दो छिटो घरको ऋण चुक्ता गर्नुपर्छ भन्ने ध्याउन्न थियो। त्यसैले पढाइ भनेको जाँच दिने र पास हुने मात्र भयो। अधिकांश समय काम नै गरेँ। साथीहरूको मद्दतले तीन ठाउँमा काम गर्न थालेँ। बिहान, दिउँसो र बेलुका गरी दिनको १७-१८ घन्टा काम गरेँ।', दिनरातको मिहिनेतबाट उनको कमाइ पनि राम्रो भयो। अस्ट्रेलिया आएको डेढ वर्षमै उनले ऋण चुक्ता गरे। यसबीच स्नातकोत्तर पढाइ पनि सकियो।, त्यसपछि करिअर बनाउनुपर्छ भनेर तीनवटा काममध्ये दुइटा छाडेर एउटा मात्र गर्न थालेको उनी बताउँछन्।, 'दुइटा काम छाडेपछि मसँग समय धेरै भयो। आइटी पढाउने नेपाली कोही छ कि भनेर खोजेँ। कतै पाइनँ,' उनले भने।, उनले अस्ट्रेलियामा आइटी काम नपाइने ठानेर संयुक्त अरब इमिरेट्स (युएई) जाने तयारी पनि गरे। युएईमा आइटी क्षेत्रमा राम्रो तलब छ भन्ने उनले सुनेका थिए। यसबीच उनले जागिरका लागि अस्ट्रेलियाका विभिन्न ठाउँमा आवेदन पनि दिए। तीन-चार सय ठाउँबाट अस्वीकृत भएपछि एकदिन एमआइटीबाट बोलावट आयो।, 'त्यो मेरो पहिलो व्यावसायिक काम थियो। अस्ट्रेलिया आएको चार वर्षसम्म हाउस-किपिङ र हाउस-क्लिनिङ गरेपछि २०१८ देखि एमआइटीमा जागिर सुरू गरेँ,' उनले भने, 'मैले एमआइटीमा जागिर पाउँदा धेरै जना चकित भएका थिए।', यसरी आइटी पढेर पनि नेपाली विद्यार्थीहरूलाई त्यही क्षेत्रमा काम पाउन गाह्रो पर्ने गरेको आफैंले भोगेपछि विनोदले एउटा तालिम केन्द्र खोल्ने निधो गरे। त्यतिञ्जेल कमाएको र पढाइ खर्चबाट जोहो गरेको केही रकम उनले त्यही तालिम केन्द्रमा लगाए।, 'धेरैलाई काम जाने पनि आत्मविश्वासको कमीले जागिर पाउन गाह्रो पर्दो रहेछ भन्ने मैले बुझिसकेको थिएँ। आत्मविश्वास मात्र बढाउन पाए धेरै नेपाली विद्यार्थीलाई अस्ट्रेलियामा जागिर खोज्न सजिलो हुन्छ भन्ने मैले बुझेँ,' उनले भने।, तर विनोदलाई यो काममा कसैले साथ दिएनन्। तालिम लिन कोही विद्यार्थी पनि आएनन्।, आफ्नै लगानीमा सुरू गरेको पहिलो व्यवसायमा लागेको धक्काले विनोद थोरै धरमराए तर हिम्मत हारेनन्। तीन जना चिनजानका मान्छे जम्मा गरेर उनले पढाउन सुरू गरे। उनको तालिम केन्द्रमा पढेका तीनमध्ये एक जनाले तत्कालै काम पाए। फेसबुकमा यो कुरा सेयर गरेपछि दोस्रो समूहमा ११ जना पढ्न आए। तीमध्ये सात जनाले काम पाए।, त्यसपछि उनको तालिम केन्द्रको चर्चा फैलिँदै गयो। विद्यार्थीहरू बढ्दै गए। अरूलाई आत्मविश्वास सिकाउने विनोदलाई आफ्नो कामप्रति आत्मविश्वास बढ्यो।, सन् २०२० जुलाईमा उनले 'बिजनेस प्रपोजल' का लागि भनेर आफ्नो व्यवसाय औपचारिक दर्ता गरे र विद्यार्थी पढाउन थाले। त्यसपछि विद्यार्थी संख्या झन् बढ्दै गयो। सुरूमा उनले एक जना साथीको अफिस मासिक ४०० डलर भाडा तिरेर चलाएका थिए, त्यो पनि उनीहरूले प्रयोग नगर्ने समयमा। अहिले उनको संस्था कलेजजत्रै भइसकेको छ। भाडा नै मासिक ७५ हजार डलरभन्दा बढी तिर्ने गरेको उनी बताउँछन्।, विनोदको संस्था 'एक्स्ट्राटेक' मा करिब ५० जना कर्मचारी छन्। अधिकांश उनकै विद्यार्थी हुन्। सिड्नी मात्र नभएर मेलबर्न, ब्रिजबेन, क्यानबेरा र नेपालमा पनि शाखा कार्यालय खोलिसकेका छन्। नेपाल कार्यालयले कल सेन्टर र अस्ट्रेलियासँग सम्बन्धित कामहरू गर्दै आएको छ। डिजिटल मार्केटिङ, वेबसाइट डेभलभमेन्ट, एप्सहरू बनाउने लगायत काम पनि हुन्छ। यसबाहेक चाँडै पर्थ र एडिलेडमा नयाँ कार्यालय खोल्ने तयारी भइरहेको उनी बताउँछन्।, यसका लागि उनलाई अहिले श्रीमती सुदिक्षा गौतम र साथी सन्तोस श्रेष्ठले बलियो साथ दिएका छन्। , 'विद्यार्थीहरूलाई पढाइसँगै अनुभव, सिकाइ र कमाइसम्मको बाटो देखाउने योजनामा हामी सफल छौं,' उनले भने, 'सुरूमा आइटीका विद्यार्थीलाई तीन महिनाको तालिम दिएर कामसँग जोड्ने र बिस्तारै रोजगार बनाउने लक्ष्य राखेका हौं।', उनी सुरू सुरूमा एमआइटीमा काम गर्दै आफ्नो व्यवसाय सञ्चालन गर्थे। यता चाप बढ्दै गएपछि केही समयअघि मात्र उनले एमआइटीको जागिर छाडिसके।, एक्स्ट्राटेकले दुई वर्षयता १३ सय विद्यार्थीमध्ये हजारभन्दा बढीलाई अस्थायी, अल्पकालीन र पूर्णकालीन गरी विभिन्न प्रकृतिका जागिरमा जोड्ने काम गरेको छ। एकाउन्टिङ र इञ्जिनियरिङका विद्यार्थीलाई रोजगार दिलाउने काम पनि गर्दै आएको छ। अब उनले विभिन्न कम्पनीका निम्ति विभिन्न दक्षताका कर्मचारी खोजिदिने 'रिक्रुमेन्ट कम्पनी' चलाउने योजना अघि बढाएका छन्।, 'हामीले जसरी हिजो व्यावसायिक क्षेत्रमा लाग्न दुःख पायौं, अब आउने पुस्तालाई त्यस्तो दु:ख नहोस् र उनीहरूले अध्ययन गरेकै विषयमा जागिर पाऊन् भन्ने हाम्रो मूल उद्देश्य हो,' विनोद भन्छन्।, शून्यबाट सुरू गरेर अहिले पाएको सफलतालाई ठूलो उपलब्धि मान्ने विनोद कुँवर आफ्नो जिन्दगीलाई फर्केर हेर्दा एउटा 'टर्निङ प्वाइन्ट' कहिल्यै भुल्दैनन्।, उनी खासमा अस्ट्रेलिया होइन, अमेरिका जान चाहन्थे। तीनपटक प्रयास गर्दा पनि अमेरिकाले भिसा दिएन। त्यसपछि हार खाएर उनी अस्ट्रेलियाको तयारीमा लागे। यसका लागि काठमाडौंका अधिकांश कन्सल्टेन्सी धाए। सन् २०१४ मा बल्ल बल्ल उनलाई अस्ट्रेलियाको एउटा कलेजले भर्ना लिने भयो।, कन्सल्टेन्सीले सबै कागजपत्र बनाएर भिसाका लागि आवेदन दियो। उनले सयकडा ३ रूपैयाँ ब्याजमा १८ लाख ऋण खोजे।, यसपालि उनको प्रयास सफल भयो।, अस्ट्रेलिया पुगेपछि पनि उनले अमेरिका जाने कोसिस भने छाडेनन्।, 'एक अमेरिकी विश्वविद्यालयबाट ८० प्रतिशत छात्रवृत्ति पनि पाएँ तर अस्ट्रेलिया आएको डेढ महिना मात्र भएकाले अमेरिकाले तत्काल भिसा दिन मानेन,' उनले भने, 'अमेरिका आउने भए कि नेपालबाटै ट्राई गर्नू, नभए एक वर्षपछि मात्र ट्राई गर्नू भन्यो। त्यसपछि चाहिँ मैले अमेरिका माया मार्दिएँ।', त्यतिखेर अमेरिका माया मारेर अस्ट्रेलियालाई अपनाउनु विनोद कुँवरको निम्ति उपयुक्त निर्णय साबित भयो। र, आफ्नो त्यो निर्णयमा उनी आज निकै खुसी महसुस गर्छन्।, 'कसैगरी पनि अमेरिका जान नपाएपछि म अब जे गर्छु अस्ट्रेलियामै गर्छु भन्ने टुंगोमा पुगेँ। यसले मेरो आत्मविश्वास हलक्कै बढ्यो। म अमेरिका जान नपाएको असफलता भुल्न यहाँ दिनरात मिहिनेत गर्न थालेँ। अमेरिका गएर जे हासिल गर्छु भन्ने मेरो सपना थियो, म त्यो सपना यहीँ पूरा गर्न चाहन्थेँ,' उनले भने।, उनको त्यो सपना पूरा भएको पनि छ। अब उनी अर्को सपना देख्न थालेका छन्।, उनको अबको सबभन्दा ठूलो सपना बुटवलमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला बनाउने हो।, 'म आफ्नो सबै सम्पत्ति सकेर भए पनि क्रिकेट रंगशाला बनाउँछु। अहिले जग्गा किनेर सम्याउने काम भइसकेको छ। दुई वर्षभित्र अन्तर्राष्ट्रिय स्तरको क्रिकेट एकेडेमी तयार हुनेछ,' उनले भने।, त्यसपछि काठमाडौंबाहिर कुनै जिल्लामा स्तरीय अस्पताल खोल्ने उनको अर्को सपना छ।, 'मैले आफ्नै आमाबुवा बिरामी हुँदा स्तरीय अस्पतालमा उपचार गराउन पाएको थिइनँ। त्यो अभाव पूरा गर्न म स्वास्थ्य सेवा राम्रो नभएको कुनै जिल्लामा सुविधासम्पन्न अस्पताल खोल्ने विचारमा छु,' उनले भने।, यति मात्र होइन, नेपाललाई आइटी हब बनाउने र अन्तर्राष्ट्रिय विद्यार्थीलाई नेपालमा पढ्न आकर्षित गर्ने उनको धोको छ।, 'नेपालमा एउटा स्तरीय आइटी कलेज छैन। नेपाली विद्यार्थी आइटी पढ्न बाहिर जान्छन्। अब विदेशी विद्यार्थी आइटी पढ्न यहाँ आऊन् भन्ने म चाहन्छु,' उनले भने।, जान चाहन्थे अमेरिका, भाग्य चम्कियो अस्ट्रेलियामा
सेतोपाटी संवाददाता नेपाली सेनाका पूर्वरथी बलदेवराज महत मृत फेला परेका छन्। , शनिबार बिहान करिब ८ बजेतिर उनी काठमाडौंको बुढानिलकण्ठ नगरपालिका-९ मण्डिखाटार स्थित घरमा मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भरत बोहराले जानकारी दिए। , उनी झुन्डिएको अवस्थामा मृत फेला परेको उनले बताए। उनी बिहान झुन्डिएको अवस्थामा फेला परेपछि ह्याम्स अस्पताल लगिएको थियो। , त्यहाँबाट मृत घोषणा भएपछि पोष्टमर्टमको लागि महाराजगन्जस्थित टिचिङ अस्पताल लगिएको थियो। , पोष्टमर्टम सकेर शव पनि परिवारले बुझिसकेका छन्। उनको मृत्युको कारण खुलिनसकेको नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले जानकारी दिए। , प्रहरीले पनि घटनास्थलबाट कुनै नोट फेला पारेको छैन।, महतले पाँच वर्षअघि सेनाबाट अवकाश पाएका थिए। ,  , सेनाका पूर्वरथी बलदेवराज महत मृत फेला
सेतोपाटी संवाददाता कर्णाली करिडोरको कालीकोट खण्डबाट कर्णाली नदिमा जेसिबी खस्दा दुई जनाको मृत्यु भएको छ।, शनिबार दिउँसो साढे १ बजे कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका–१ अधेरीखोला नजिकबाट जेसिबी नदीमा खसेको प्रहरीले जनाएको छ। , दुर्घटना हुँदा सान्नीत्रिवेणी गाउँपालिका–१ का ३० वर्षीया चरित्र सार्की र वडा नम्बर २ का १६ वर्षीया युवराज बुढाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी निरीक्षक शुक्रराज बमले जानकारी दिए।, घटनामा तीन जना बेपत्ता भएका छन्।, कैलालीका जेसिबी चालक अन्दाजी २३ वर्षीय कमल सोडारी, सान्नीत्रिवेणी नगरपालिका–१ कालीकोटका १९ वर्षीय उमेश गिरी, सोही ठाउँका १४ वर्षीय रक्तिम कार्की बेपत्ता भएको प्रहरी निरीक्षक बलमे जानकारी दिए।, प्रहरीका अनुसार बेपत्ता भएकाहरूको खोजी भइरहेको छ।, घटनामा घाइते भएका तीन जनालाई उपचारका लागि जिल्ला अस्पताल लगिएको छ।, कालीकोटका रास्कोट नगरपालिका–७ का १४ वर्षीय मिलन शाही, खाँडाचक्र नगरपालिका–११ का १४ वर्षीया विकास भारती र १४ वर्षीया आशिष भारती घाइते छन्।, प्रहरी निरीक्षक बमका अनुसार सन्नीत्रिवेणी–१ अँधेरीखोलामा निर्माणाधी ४८० मेगावाटको फुकोट कर्णाली हाइड्रोपावरको सुरूङ भित्रको पानीको अवस्था जाँच गरी फर्किनेक्रममा कर्णाली प्रदेश २७७२ नम्बरको जेसिबी दुर्घटनामा परेको हो।, जेसिबी सडकदेखि ८० मिटर तल नदीमा खसेको हो।, साढे १ बजे नै घटना भएपनि स्थानीयले सवा २ बजे मात्र प्रहरीलाई खबर गरेको प्रहरी निरीक्षक बमले जानकारी दिए।, कर्णाली नदीमा जेसिबी खस्दा दुई जनाको मृत्यु, तीन जना बेपत्ता
सेतोपाटी संवाददाता डोटीमा सेती नदीमा बगेर एक युवकको मृत्यु भएको छ।, शिखर नगरपालिका–२ कठालीका ३५ वर्षीय गोविन्द बोगटीको बगेर मृत्यु भएको प्रहरीले जनाएको हो।  , स्थानीयले शनिबार दिउँसो नदीमा तैरिरहेको अवस्था उनको शव देखेका थिए।, प्रहरी र स्थानीयको सहकार्यमा उनको शव निकालिएको थियो।, मृतकको शव पोष्टमर्टमका लागि अस्पतालमा राखिएको छ।, नदी किनारमा जाँदा चिप्लिँदा बगाएको हुनसक्ने प्रहरीको प्रारम्भीक अनुसन्धानबाट देखिएको छ। , घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।, सेती नदीमा एक युवकको शव फेला
सेतोपाटी संवाददाता गोरखा र लम्जुङको सीमा भई बगेको चेपे नदीमा निर्माणाधीन ७ मेगावाट क्षमताको चम्पादेवी जलविद्युत आयोजनाको कार्यालय स्थानीय किसानहरूले तोडफोड गरेका छन्।, गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर २ मा रहेको आयोजनाको कार्यालयमा किसानहरूले तोडफोड र आगजनी गरेको गोरखा प्रहरीले जनाएको छ।, आयोजनामा पानी लैजादा आफूहरूको खेतमा सिँचाइ गर्न नपाइने भन्दै किसानहरू आन्दोलित भएका हुन्।, स्थानीय राइनासटार सिँचाइको नहरबाट पानी नलैजाने हो भने करिब १२ सय हेक्टर खेत सुख्खा लाग्ने किसानहरूको भनाइ छ।, राइनासटार सिँचाइको बाँधभन्दा माथि नै आयोजनाको पानीको निकास गरिनुपर्ने माग किसानहरूको छ। तर बाँधभन्दा करिब २ सय मिटर तल आयोजनाको पानीको निकास हुने भन्दै किसानहरू आन्दोलित छन्।, तर आयोजनाले भने राइनासटार सिँचाइभन्दा माथि नै पानीको निकास गरिने हुँदा खेत सिँचाइमा प्रभाव नपर्ने बताइरहेको छ। तोडफोडबाट करिब एक करोडको क्षति भएको आयोजनाले जनाएको छ।, २०४९ सालदेखि राइनासटार नहरबाट यहाँका खेतमा सिँचाइ हुँदै आएको छ।, चम्पावती जलविद्युतको कार्यालयमा किसानहरूले गरे आगजनी
सेतोपाटी संवाददाता काठमाडौंको हलचोकमा कन्टेनर गाडीको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ। , शनिबार दिउँसो काठमाडौं महानगरपालिका-१५ हलचोकमा कन्टेनर गाडीले स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।, ग.२ ख ६१० नम्बरको कन्टेनरले बा.प्र.-०२-०२२ प १८१२ नम्बरको स्कुटरलाई ठक्कर दिँदा वीरगंज महानगरपालिका-११ का ४५ वर्षीय सुवास खतिवडाको मृत्यु भएको हो।, दुर्घटनामा गम्भीर घाइते भएका उनको शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।, कन्टेनर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।, काठमाडौंमा कन्टेनर गाडीको ठक्करबाट स्कुटर चालकको मृत्यु
सेतोपाटी संवाददाता पुलबाट मोटरसाइकल खोलामा खस्दा एक जनाको मृत्यु भएको छ। , जिल्लाको घोराही उपमहानगरपालिका वडा नं. २ स्थित बालिमखोलाको पुलबाट मोटरसाइकल सँगै खसेका यादव चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। , जिल्ला प्रहरी प्रबक्ता डिएसपी राजन गौतमका अनुसार अन्दाजी ३२ वर्षीय चौधरी गएराति मोटरसाइकलसहित पुलदेखि खसेका हुनसक्छन्।, बिहान मात्रै स्थानीयले मोटरसाइकलसहित खोलामा खसेको ब्यक्तिलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए। डिएसपी चौधरीका  अनुसार मृतक घोराही – ३ बर्गदवाका स्थानीय रहेको भन्ने खुलेको छ।,  घोराही–२ मुलाबारीबाट हाँसीपुर जाने सडख खण्डमा चौधरी दुर्घटनामा परेका थिए। , घटनाबारे थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ। शब पोष्ट मार्टमको लागि अस्पतालतर्फ ल्याउने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ।, पुलबाट मोटरसाइकलसहित खसेका युवकको मृत्यु
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६ डिग्रीमा झरेको छ। , मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस देखिएको हो। यो हालसम्म यो वर्षकै सबैभन्दा कम हो।, हिजो शनिबार भने उपत्यकाको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस थियो। , यो सँगै काठमाडौं उपत्यकासहित देशभरको मौसम चिसिदै गएको छ।, मौसमविदका अनुसार तापक्रम क्रमशः घट्दो क्रममा छ। अब चिसो क्रमशः बढ्दै जान्छ। पछिल्लो केही दिन यता न्यूनतम् तापक्रम क्रमशः घटिरहेको छ। , हाल पश्चिम तराई, मध्य तराई र पूर्वी तराईका केही क्षेत्रमा हुस्सु लागेको छ। तर, मध्यान्हपछि क्रमिक रूपमा सुधार हुँदै जाने महाशाखाले जनाएको ।, मौसम दुई तरिकाले चिसो हुन्छ। एउटा अधिकतम तापक्रम घटेर र अर्को न्यूनतम तापक्रम घटेर। डम्म बादल लाग्यो भने बादलले ब्ल्यांकेटको काम गर्छ र अधिकतम तापक्रम घट्छ। बादल लागेन भने न्यूनतम तापक्रम घट्छ र चिसो हुन्छ। अहिले चिसो भएको न्यूनतम तापक्रम घटेर हो। यस्तै यतिबेला रात लामो हुने भएको र सूर्यको प्रकाश पनि कडा नहुने भएकाले चिसो बढ्छ।, तराईमा तीन/चार दिनदेखि बिहान हुस्सु र कुहिरो लाग्ने गरेको हो। हुस्सु र कुहिरो लागेको बेलामा दुर्घटनाको जोखिम हुने भएकाले गाडी चलाउँदा ख्याल गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ । कुहिरो तथा हुस्सु लागेका बेला ती क्षेत्रमा सामान्य गतिमा र बत्तीको  प्रयोग गरी गाडी चलाउन ट्राफिक प्रहरीको आग्रह छ।, आज प्रदेश एक, गण्डकी र कर्णालीका केही पहाडी क्षेत्रमा मौसम आंशिक बदली हुने अनुमान छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश एक, गण्डकी र कर्णालीका पहाडी केही क्षेत्रबाहेक अरु ठाउँको मौसम समान्यतया सफा नै छ ।, महाशाखाले चिसोबाट जोगिन आवश्यक तयारी र सावधानी अपनाउन पनि अनुरोध गरेको छ।, काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६ डिग्रीमा झर्‍यो
सेतोपाटी संवाददाता यस वर्षको दयाराम परियार स्मृति मानव अधिकार पुरस्कारबाट गौरी शंकरलाल दास पुरस्कृत भएका छन्।, राष्ट्रिय मानव अधिकार आयोगले शनिबार गरेको एक समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले अधिकारकर्मी गौरीशंकरलाललाई एक लाख रूपैयाँ रासीको उक्त पुरस्कार प्रदान गरेका हुन्।, मानव अधिकारका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका व्यक्तित्वलाई आयोगले यो पुरस्कार हरेक वर्ष प्रदान गर्दै आएको छ।, २०६२/०६३ को जनआन्दोलनमा राष्ट्रिय मानव अधिकार आयोग जनकपुरमा अनुगमनकै सिलसिलामा दयाराम परियारको निधन भएको थियो।, दयाराम परियार स्मृति मानव अधिकार पुरस्कार गौरी शंकरलाललाई प्रदान
रासस अख्तियार दुरूपयोग अनुसन्धान आयोगको नेपालगञ्जस्थित कार्यालयमा स्थानीय तहसँग सम्बन्धित उजुरी धेरै दर्ता भएका छन्।, बाँके, बर्दिया, दाङ र रोल्पा कार्य क्षेत्र रहेको नेपालगञ्ज कार्यालयमा विभिन्न विषय क्षेत्रगत कार्यालयको उजुरीमध्ये सबभन्दा बढी स्थानीय तहका उजुरी रहेको अदुअआको नेपालगञ्ज सम्पर्क कार्यालयका प्रमुख विजयराज पौडेलले जानकारी दिए।, उनका अनुसार गत आर्थिक वर्ष २०७८/७९ देखि चालु आवको कात्तिक महिनासम्म स्थानीय तहका एक सय ६३ उजुरी दर्ता भएका छन्।, चालु आवको चार महिनामा मात्रै ६७ उजुरी दर्ता भएका हुन्।, परेका उजुरीमध्ये ३३ फर्छ्यौट भइसकेका छन् भने एक सय ३० फर्छ्यौट हुन बाँकी छन्।, यो अवधिमा स्थानीय तहकै शिक्षाअन्तर्गतका ५६ उजुरी दर्ता भएकामा १३ उजुरी फर्छ्यौट भइसकेका छन्।, ४३ उजुरी फर्छ्यौटको प्रक्रियामा रहेका छन्। अदुअआको नेपालगञ्जस्थित कार्यालयमा गत आव २०७८/७९ देखि चालु आवको कात्तिक महिनासम्म उद्योग, पर्यटन वन तथा वातावरणसम्बन्धी ३०, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणसम्बन्धी २४ र भौतिक पूर्वाधार विकास मन्त्रालयसम्बन्धी १७ उजुरी दर्ता भएका छन्।, बाँके, बर्दिया, दाङ र रोल्पा कार्यक्षेत्र रहेको नेपालगञ्ज कार्यालयमा चालु आवको कात्तिक मसान्तसम्म एक सय ७१ उजुरी दर्ता भएकामा सबैभन्दा बढी बाँकेका ८०, दाङका ५१, बर्दियाका २२ र रोल्पाका १८ उजुरी दर्ता भएका छन्।, गत आवमा बाँकेका ८६, दाङका ८५, बर्दियाका ४१ र रोल्पाका १७ रहेका छन्।, स्थानीय तहमा सार्वजनिक खरिद र निर्माणतर्फ गलत स्टिमेट तयार पार्ने, प्रक्रिया र नियम कानुनको पालना नगर्ने नगराउने, आवश्यकभन्दा धेरै सामग्री खरिद गर्ने, जिन्सी दाखिला नगर्ने वा गलत दाखिला प्रतिवेदन तयार पार्ने, उपभोक्ता समितिसम्बन्धी कार्यविधि पालना नगर्ने वा गलत प्रतिवेदन तयार गर्नेजस्ता प्रवृत्ति पाइएको अदुअआको नेपालगञ्ज सम्पर्क कार्यालयका प्रमुख पौडेलले बताए।, अख्तियारमा स्थानीय तहका उजुरी धेरै
सेतोपाटी संवाददाता काठमाडौंको कीर्तिपुरमा स्कुल बसको ठक्करबाट सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ। , आइतबार बिहान ९ बजे चोभार गेटनजिकै बसले सरकारी मोटरसाइकललाई ठक्कर दिँदा सशस्त्र प्रहरी जवानको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए। , दुर्घटनामा एपिएफ मुख्यालय हेडक्वार्टरमा कार्यरत जवान सुवास चन्द्र रतलाको मृत्यु भएको हो। , मोर्डन इन्डियन स्कुलको ना १ क १६१२ नम्बरको स्कुल बसले बागमती एएए २९०८ नम्बरको सरकारी मोटरसाइकललाई ठक्कर दिएको थियो। उनी निलबाराही गणमा जाँदै थिए। , ठक्करपछि घाइते भएका रतलालाई उपचारको लागि बल्खुस्थित बयोधा अस्पताल लगिएको थियो।, उनको उपचारको क्रममा मृत्यु भएको हो। बस र चालकलाई कीर्तिपुर प्रहरी वृत्तले नियन्त्रणमा लिएको छ। , प्रहरी वृत्त कीर्तिपुरबाट थप अनुसन्धान भइरहेको परिसरले जनाएको छ।, कीर्तिपुरमा स्कुल बसको ठक्करबाट सशस्त्र प्रहरी जवानको मृत्यु
सेतोपाटी संवाददाता १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्। , गुल्मी मुसिकोट नगरपालिका-१ पखेरा बस्ने २१ वर्षीय दीपेन्द्र विकलाई प्रहरीले पक्राउ गरेको हो।, उनलाई शनिबार दिउँसो पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। , दीपेन्द्रले ती किशोरीलाई शुक्रबार बिहान जबरजस्ती करणी गरेको भन्ने खबर प्रहरीले पाएको थियो। , उक्त सूचना पाएपछि प्रहरी चौकी पौदिअमराइबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।, यस घटनाको अनुसन्धान प्रहरीले गरिरहेको जनाएको छ। , १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा एक पक्राउ
सेतोपाटी संवाददाता  काठमाडौंमा पानी ट्यांकीमा डुबेर एक जनाको मृत्यु भएको छ। , नागार्जुन नगरपालिका-४ सीतापाइला बस्ने ६६ वर्षीया तुलसाकुमारी कुँवरको मृत्यु भएको प्रहरीले जनाएको छ। , उनको आफ्नै घरको पानी भरिएको ट्यांकीमा डुबेर शनिबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ।, ट्यांकीमा डुबेकी उनलाई मनमोहन मेमोरियल अस्पतालमा लगिएको थियो। त्यहाँ उपचारको क्रममा उनको मृत्‍यु भएको हो। , यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।, काठमाडौंमा पानी ट्यांकीमा डुबेर एक जनाको मृत्यु
सेतोपाटी संवाददाता प्रहरीले काठमाडौंबाट स्रोत नखुलेको झन्डै ३५ लाख नगदसहित दुई जनालाई पक्राउ गरेको छ। , काठमाडौं टोखा नगरपालिका-१० का ५६ वर्षीय जितेन्द्रकुमार चौधरी र पोखरा महानगरपालिका-१७ का ६१ वर्षीय विश्वकुमार गुरुङलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक भरत बोहोराले जानकारी दिए।, आइतबार पत्रकार सम्मेलन गर्दै प्रहरीले उनीहरूलाई सार्वजनिक गरेको हो।, बिहीबार दिउँसो चेकिङमा खटिएको प्रहरी टोलीले चेक गर्ने क्रममा चौधरीको साथबाट ३४ लाख ९७ हजार रुपैयाँ नगद भेटिएको हो।, चौधरी जोरपाटीबाट गोकर्णतर्फ जाँदै थिए। , यस्तै, घटनाबारे थप अनुसन्धान गर्दा उक्त रकम चौधरीले गुरुङको रहेको भनेको एसएसपी बोहोराले बताए। , प्रहरीले ३४ लाख ९७ हजार नगद रुपैयाँसहित स्कुटर नियन्त्रणमा लिएको जनाएको छ। ,  , काठमाडौंबाट स्रोत नखुलेको झन्डै ३५ लाख नगदसहित दुई पक्राउ
सेतोपाटी संवाददाता आइतबार टेकुस्थित जिल्ला प्रहरी परिसर काठमाडौंमा नीलो रंगको कोट-पेन्ट र सेतो सर्ट लगाएका केही युवा-युवतीहरू देखिए। , त्यहाँ भएकाहरूमध्ये ६ जना उक्त सरकारी पोशाकमा र दुई जना सामान्य पोशाकमै थिए। उमेर हेर्दा १९ देखि ३० वर्षसम्मका थिए।  , ती आठै जना युवायुवतीको हातमा हतकडी लगाइएको थियो।, प्रहरीले उनीहरूलाई पक्राउ गरी आइतबार दिउँसो पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गर्‍यो। , परिसर प्रमुख एसएसपी भरत बोहराले उनीहरूमाथि ठगी तथा कीर्ते गर्न नहुने कसूरमा अनुसन्धान जारी रहेको जानकारी दिए। , सरकारी पोशाकमा रहेका उनीहरूले केही दिनदेखि पहिचान फेरेर विभिन्न ठाउँमा अनुगमन गर्दै आएका रहेछन्।, एसएसपी बोहराका अनुसार उनीहरूले आफूहरूलाई आन्तरिक राजस्व कार्यालयका कर्मचारी हौं भनेर चिनाएका थिए। , केही दिनदेखि उनीहरूले नयाँ बसपार्क क्षेत्रका साना, ठूला पसल, फुटपाथ पसल, रेष्टुरेन्ट, होटल लगायत विभिन्न ठाउँमा पुगेर कर अनुमगन गरेको एसएसपी बोहराले बताए।, ‘सरकारी पोशाक, राजस्वको आइडी कार्ड, रसिद लगायत बोकेर अनुगमन गर्थे,’ उनले भने। , उनीहरू कुनै पनि ठाउँमा अनुगमनका लागि पुग्दा सुरूमा चिनारी दिन्थे। त्यसपछि कर तिरे/नतिरेको विवरण देखाउन लगाएपछि गल्ती भेटेअनुसारको जरिवाना तोक्थे।, तत्कालै जरिवाना तिराएर आन्तरिक राजस्व कार्यालय लाजिम्पाट लेखिएको रसिद दिएर उनीहरू फर्किन्थे। , यसरी उक्त टोलीले नयाँ बसपार्क इलाकामा चार दिनदेखि अनुगमन गरिरहेको थियो।, तर चौथो दिन गत शुक्रबार दिउँसो शंकास्पद व्यक्तिहरूले अनुगमन गरी पैसा उठाइरहेको भन्ने खबर प्रहरीले पायो। , उक्त खबर पाएपछि प्रहरी वृत्त महाराजगन्जबाट खटिएको टोली उनीहरू भएको ठाउँसम्म पुग्यो। सरकारी पोशाक र आइडी कार्डमै देखिएपछि प्रहरी पनि झुक्कियो। तर सूचनाअनुसार उनीहरूलाई सोधपुछ गर्दा ठगी गरिरहेको भन्ने खुल्यो। त्यसपछि प्रहरीले त्यहाँबाट सात जनालाई पक्राउ गर्‍यो। , पक्राउ पर्नेहरूमा पूर्वी नवलपरासीका २९ वर्षीय विनबहादुर विक, पाँचथरकी २२ वर्षीया सृजना भट्टराई, अछामका १९ वर्षीय सागरजंग लुहार, २३ वर्षीया दुधकला विक, सिन्धुपाल्चोककी २३ वर्षीया प्रमिशा तामाङ र नुवाकोटकी २१ वर्षीया अन्जना तामाङ छन्। , यस्तै कञ्चनपुरका २४ वर्षीय राजीव विष्ट र २५ वर्षीय डेबिड धामीलाई पनि प्रहरीले पक्राउ गरेको छ। राजीवलाई प्रहरीले शनिबार कीर्तिपुरबाट पक्राउ गरेको हो। , उनीहरूबाट आन्तरिक राजस्व कार्यालयको स्ट्याम्प, राजस्वका किताब, लेटरप्याड, परिचयपत्र, रोजगारी आवेदन फारमहरू, सिपियूलगायत सामान बरामद गरेको छ। राजीवबाट ८४ हजार ७३० रुपैयाँ नगद पनि बरामद भएको छ। , अहिलेसम्म यो समूहले ५ लाख ८ हजार ६४० रुपैयाँ ठगी गरेको खुलेको छ। चार जना पीडितले प्रहरी वृत्त महाराजगन्जमा जाहेरी पनि दिइसकेका छन्। यसमा पीडितको संख्या धेरै भएको र जाहेरी दिनेको संख्या पनि अझै थपिन सक्ने प्रहरीको बुझाइ छ। , यस घटनाका मुख्य व्यक्ति डेबिड हुन्। उनैको योजनामा यसरी ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। , ‘डेबिडले मुख्य व्यक्ति राजीव हो भनेपछि प्रहरी कीर्तिपुरमा पुग्यो। राजीवलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा मुख्य व्यक्ति डेबिड नै हो भन्ने खुल्यो,’ प्रवक्ता तथा एसपी दिनेशराज मैनालीले भने, ‘पछि उसले पनि त्यो कुरा स्वीकार्‍यो।’, प्रहरीले पक्राउ परेका व्यक्तिहरूको पृष्ठभूमि खोतल्दा डेबिड अडिटर भएको खुलेको छ। जसकारण पनि उनलाई करका विषयमा धेरै जानकारी भएको देखिन्छ। , ‘यस्तो काम गर्नुअघि राम्रैसँग अध्ययन समेत गरेको देखियो,’ एसपी मैनालीले भने। , यद्यपि उनले राजस्वमा समेत काम गरेका थिए कि भन्ने प्रहरीको आशंका छ। यसबारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। , डेबिडबाहेक पक्राउ परेका अरू व्यक्तिहरू भर्ना गरी लिइएका कर्मचारीहरू हुन्। उनले सामाजिक सञ्जाल फेसबुक लगायतबाट विज्ञापन निकालेर करारमा भर्ना गरेका थिए। , ‘अफिसमा पछि लैजान्छु भनेर थोरै ओरिन्टेशन दियो। त्यसपछि सिधै काममा लगाए,’ एसपी मैनालीले भने। , तलब पनि सरकारी कर्मचारीले पाउने सरह नै दिने भनेका थिए। तर कति हो भन्ने यकिन नगरेको प्रहरीको भनाइ छ। , प्रहरीले उनीहरू सबै जनाविरूद्ध ठगी गर्न नहुने कसूर तथा कीर्ते गर्न नहुने कसूरमा अनुसन्धान गरिरहेको छ। यसरी पनि ठगी गर्न थालेको भन्दै एसएसपी भरत बोहराले सचेत हुन अनुरोध समेत गरेका छन्। , शंकास्पद रूपमा यसरी अनुगमनका लागि आएमा प्रहरीलाई खबर गर्न उनले अनुरोध गरेका छन्।, आन्तरिक राजस्व कार्यालयका कर्मचारी हौं भनेर अनुगमन गर्दै हिँडेको टोली पक्राउ
नारायण खड्का व्यक्तिगत सम्बन्ध र चिनजानका आधारमा महिला प्रयोग गरी एक व्यक्तिबाट लाखौं असुल्न खोज्ने तीन जना पक्राउ परेका छन्। , दाङको गढवा गाउँपालिका वडा नं. ६ माइती घर भई हाल तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ दशरथ टोल बस्दै आएकी ३५ वर्षीया कृष्णी गहतराज (विश्वकर्मा), घोराही उपमहानगरपालिका वडा नं. १० नारायणपुरका २७ वर्षीय जनक भनिने रूद्रबहादुर केसी र  तुलसीपुर–१८ ग्वारखोलाकी ३६ वर्षीया कृष्णीकुमारी बस्नेत पक्राउ परेका छन्। , ३५ वर्षीया कृष्णीले तुलसीपुरका एक पुरुषसँगको सम्बन्धका कारण मोटो रकम बार्गेनिङ गर्दै आएको हुँदा पीडितको जाहेरीका आधारमा प्रक्रा गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमले बताए। , जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर वलीका अनुसार उनले विभिन्न व्यक्तिहरूलाई फरक–फरक आफ्नो परिचय बताउने गरेकी थिइन्। कतिलाई उनले दुर्गी भनेर पनि परिचय दिने गरेकी थिइन्। , ‘पाँच करोडदेखि बार्गेनिङ सुरू गरेको तथ्य खुलेको छ र पटक पटक गरी झन्डै २० लाख रुपैयाँ असुलेको खुलेको छ,’ डिएसपी गौतमले भने ‘ यसमा अरूहरू पनि जोडिएको भन्ने छ र थप अनुसन्धान बाँकी नै छ।’, केही वर्ष पहिले कृष्णी र ती पुरूषको बीचमा चिया गफका क्रममा चिनजान भएको थियो। महिलाले दुःख देखाएपछि पीडित भनेका पुरुषले उनलाई खर्च दिँदै आएका थिए। त्यही क्रममा उनीहरूका बीचमा शारीरीक सम्बन्ध पनि हुँदै आएको अनुसन्धानबाट खुलेको प्रहरी अधिकारीले बताए। , एक वर्ष पहिला उनीहरूका बीचमा जे–जस्तो भए पनि अबदेखि एक अर्कालाई कुनै यातना नदिने सर्तमा बाँकेको नेपालगञ्जमा कागज पनि भएको थियो।, ‘वकिललाई कागज लेख्न पठाई ती पुरुषले विश्वकर्मालाई झन्डै १५ लाख दिएको देखिन्छ,’ डिएसपी गौतमले भने, ‘तर,पनि ती महिलाले सहमतिविपरीत विगतका प्रमाणहरू संकलन गरी पटक/पटक बार्गेनिङ गर्दै आएको खुलेको छ।’, यो बीचमा पनि ती पुरुषले घर परिवार र आफन्त कसैलाई नभनी एक्लै आफ्नो समस्या समाधानको विकल्प खोज्दै आएका थिए। विश्वकर्माले कि नगद दिन त्यो सम्भव नभए घर वा घडेरी आफ्नो नाममा गरिदिन चेतावनी दिँदै आएकी थिइन्। , पछिल्लो समय उनले सोही व्यहोराको म्यासेज ती पुरुषका आफन्त मात्रै नभई श्रीमती र छोरीलाई समेत म्यासेज पठाउने गरेकी थिइन्।  , विश्वकर्माले म्यासेज गर्दै पाँच करोडसम्म नदिए बलात्कारको मुद्दा हालिदिने चेतावनी  दिँदै आएकी थिइन्।, श्रीमती र छोरीले समेत विश्वकर्माको धम्की र बार्गेनिङको यातना खेप्नु परेपछि उनीहरूकै ढाडस तथा सहयोगमा पीडित पुरुष जिल्ला प्रहरी कार्यालयमा पुगेर लिखित जाहेरी दिएका थिए। , पछिल्लो समय मंसिर १६ गते बेलुका ५ बजे घोराही–१७ स्थित कबिला रिसोर्टमा विश्वकर्माले ती पुरुषलाई पैसा लिएर आउन चेतावनी दिएकी थिइन्। जहाँ ती पुरुष करिब पाँच लाख रुपैयाँ लगेर विश्वकर्मालाई बुझाउन गएका थिए। , त्यो  सूचना थाहा पाएर पुगेको प्रहरीले विश्वकर्मालाई रकम बुझ्दै गर्दा नियन्त्रणमा लिएको डिएसपी गौतमले बताए। , पक्राउ परेका अन्य दुई जनाले पीडित पुरुषलाई पटक/पटक फोन सम्पर्क गर्ने, चिया नास्ता खान बोलाउने अनि कहिले महिला अधिकार र मानव अधिकारका कुरा गर्दै रकम तिर्न दबाब सृजना गरेको तथ्य खुलेको डिएसपी गौतमले जानकारी दिए।  , ‘विश्वकर्मालाई देखाएर उनीहरू दुई जना पनि पीडितबाट रकम असुल्ने र बाँडीचुडी भागबण्डा गर्ने गरेको नियत खुलेको छ,’ डिएसपी गौतमले भने, ‘यसमा अन्य मानिसहरू पनि जोडिएको तथ्य खुलेको छ र उनीहरूको खोजी कार्य जारी छ।’, पक्राउ परेका तीनै जनाविरूद्ध अपराधिक लाभ –एक्सटर्शन कसुर अन्तर्गत मुद्दा दायर गरी थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।, यो बीचमा उनीहरू तीनै जनाविरूद्ध प्रहरी दुई पटक अदालतबाट म्याद थप गरिसकेको बताएको छ। , पीडित भनिएका पुरुषको परिचय भने प्रहरीले सार्वजनिक गरेको छैन।,  , पहिला जसलाई 'सहारा' दिए, पछि उनैको ब्ल्याकमेलमा परे
सेतोपाटी संवाददाता काठमाडौंबाट प्रहरीले सट्टाबाजी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। , विभिन्न गेममा अनलाइन सट्टाबाजी गरेको आरोपमा एक जना भारतीय नागरिकसहित दुई जनालाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखाका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए।, पक्राउ पर्नेमा भारत घर भई नरदेवी बस्दै आएका ३२ वर्षीय पवनकुमार शर्मा र पाल्पा घर भई बूढानिलकण्ठ नगरपालिका-८ बस्दै आएका ३७ वर्षीय रूद्रप्रसाद पोखरेल छन्। , काठमाडौंका विभिन्न स्थानमा लुकीछिपी अनलाइन सट्टाबाजी भइरहेको भन्ने सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरेको प्रहरी उपरीक्षक रेग्मीले बताए। , यस्तै, शनिबार पोखरेललाई जमल र आइतबार शर्मालाई नरदेवीबाट सट्टाबाजी गरिरहेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।, प्रहरीले उनीहरूमाथि मुलुकी अपराध सहिताको सट्टाबाजी गर्न/गराउन नहुने कसुरमा थप अनुसन्धान भइरहेको जनाएको छ। , काठमाडौंबाट सट्टाबाजी गरेको आरोपमा भारतीय नागरिकसहित दुई पक्राउ
सेतोपाटी संवाददाता धारिलो हतियार प्रहार गरे धनुषामा एक महिलाको हत्या भएको छ।, बटेश्वर गाँउपालिका ५ शान्तिपुरकी २८ वर्षीया अमृता यादवको आज विहान हत्या भएको हो।, हतियार प्रहारपछि गम्भीर घाइते भएकी उनको जनकपुरधामस्थित काव्य अस्पतालमा उपचार गरिएको थियो। उनको उपचारकै क्रममा मृत्यु भएको छ।, उनका श्रीमान वीरेन्द्र यादवले आज बिहान करिब ४ बजेतिर तीन/चार जना नकवधारी समूह घरमा आएको र श्रीमतीको हत्या गरेको बयान प्रहरीलाई दिएका छन्।, वीरेन्द्रलाई पनि प्रहरीले शंकाको घेरामा राखेर अनुसन्धान गरिरहेको छ। यसअघि वीरेन्द्रले श्रीमतीलाई कुटपिट गर्ने गरेको छिमेकीहरूले बताएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक प्रदीप क्षेत्रीले बताए।, धारिलो हतियार प्रहारबाट धनुषामा महिलाको हत्या