content
stringlengths 20
64.1k
⌀ |
---|
रासस वन तथा वातावरण विभागले काठमाडौं उपत्यकामा मापदण्डभन्दा बढी धुवाँ फालेर वायु प्रदूषण गराउने २७ वटा सवारीसाधनलाई कारबाही गरेको छ।, काठमाडाैंको बबरमहलमा वातावरण विभाग तथा ट्राफिक प्रहरीद्वारा गरिएको प्रदूषण जाँचका क्रममा मापदण्डभन्दा बढी धुवाँ फाल्ने २७ वटा गाडीलाई जरिवानासहित कारबाही गरिएको विभागका महानिर्देशक वनराज घिमिरेले जानकारी दिए।, उनका अनुसार कारबाहीमा परेका गाडीमा भाडाका मिनीबस १४, पिकअप भ्यान आठ, भाडाका माइक्रोबस तीन र कार दुई छन्। वातावरण विभाग बबरमहल र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रूपमा खटिएको टोलीले बबरमहलमा ५३ वटा सवारीसाधन जाँच गर्दा २७ सवारीसाधन कारबाहीमा परेका हुन्।, गाडी मर्मतपछि तोकिएको जरिवाना तिरी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिने जनाइएको छ। मापदण्डभन्दा बढी धुवाँ फाल्ने सवारी चलाउँदा वायु प्रदूषण बढ्न गई मानव स्वास्थ्यमा गम्भीर समस्या हुनुका साथै दुर्घटनाको जोखिमसमेत हुने भएकाले सवारीसाधनको अवस्था जाँच गरी चुस्तदुरूस्त अवस्थामा राख्न चालकलाई उपत्यका ट्राफिक प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक तथा प्रवक्ता राजेन्द्रप्रसाद भट्टले अनुरोध गरे।,
२७ वटा गाडीलाई कारबाही |
सेतोपाटी संवाददाता ललितपुरको लामाटारमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। , महालक्ष्मी नगरपालिका-९ लामाटारस्थित वडा कार्यालय नजिकैको ओरालोमा मोटरसाइकल दुर्घटनामा परेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी प्रविण पोखरेलले जानकारी दिए। , शनिबार साँझ ६ बजे बागमती प्रदेश ०२-०४० प १३२० नम्बरको केटिएम डुक बाइक अनियन्त्रित भएर दुर्घटनामा परेको हो। , दुर्घटना हुँदा अर्घाखाँची घर भई ललितपुरको इमाडोल बस्ने २३ वर्षीय शिशिर भुसालको मृत्यु भएको हो। सोही मोटरसाइकल पछाडि सवार २० वर्षीय राजिवकुमार यादव घाइते छन्। , दुर्घटनापछि घाइते भएका उनीहरूलाई प्रहरी प्रभाग लुभुको टोलीले ग्वार्कोस्थित बिएन्डबी अस्पतालमा पुर्याएको थियो। , उक्त अस्पतालमा उपचारको क्रममा भुसालको मृत्यु भएको एसपी पोखरेलले बताए। , यादवको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। , मोटरसाइकल प्रहरी प्रभाग लुभुको नियन्त्रणमा छ। घटनाको थप अनुसन्धान गरिरहेको छ।,
लामाटारमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु |
दिपकजंग शाही सुर्खेतमा गाडी दुर्घटनामा ज्यान गुमाउनेहरू स्वास्थ्यकर्मी भएको खुलेको छ। घाइतेमध्ये एक जना पनि स्वास्थकर्मी हुन्।, आइतबार बिहान भेरीगंगा नगरपालिका-१ सत्तरीबाट वीरेन्द्रनगर आउँदै गरेको कर्णाली प्रदेश ०१०२६ च ९२१३ नम्बरको गाडी सडकबाट खसेर दुर्घटना भएको हो।, झन्डै २० मिटर तल खसेको उक्त गाडीमा सवार सबैजना स्वास्थ्यकर्मी रहेको खुलेको छ। , जिल्ला प्रहरी कार्यालयका अनुसार गाडी अनियन्त्रित भएर दुर्घटनामा परेको हो। दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। , दैलेखको डुंगेश्वर गाउँपालिका–५ का ३३ वर्षीय दिपेन्द्रजंग शाही, भगवतीमाई गाउँपालिका–५ का ३१ वर्षीय बविन शाही, गुराँस गाउँपालिका–३ का ३६ वर्षीय राजेन्द्र बिसी र हाल सुर्खेत बस्ने भैरवी गाउँपालिकाका सागर शाहीको मृत्यु भएको हो।, दैलेख भैरवी गाउँपालिकाका वीरेन्द्रराज शाहीको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ। उनको थप उपचारको लागि हेलिकप्टरबाट काठमाडौं पठाउने तयारी भएको हो।, प्रहरीका अनुसार मृतकहरूमध्ये तीन जना छैठौं तहका जनस्वास्थ्य निरीक्षक र एक जना औषधी व्यवसायी थिए। , दिपेन्द्रजंग डुंगेश्वर गाउँपालिका, बविन भगवतीमाई गाउँपालिका र राजेन्द्र बिसी गुराँस गाउँपालिकामा जनस्वास्थ्य निरीक्षकको रूपमा कार्यरत थिए। , सागर शाही भने औषधी व्यवसायी हुन्। उनले सुर्खेतको वीरेन्द्रनगरमा ‘रारा डिस्ट्रीब्युटर्स’ सञ्चालन गरिरहेका थिए। दुर्घटनामा परेको गाडी पनि उनैको हो। प्रहरीका अनुसार सागरले आफैं गाडी चलाएका थिए।, घाइते भएका वीरेन्द्रराज शाही पनि भैरवी गाउँपालिकामा जनस्वास्थ्य निरीक्षक छैठौं तहमा कार्यरत छन्।, ‘उहाँहरूमध्ये कतिपयको केही समयअघि बढुवा पनि भएको रहेछ, सुर्खेतमा उहाँहरू गोष्ठीमा सहभागी हुन आउनुभएको रहेछ,’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले भने, ‘उहाँहरू सत्तरी खाना खान गएको भन्ने जानकारी आएको छ, अरू आधिकारिक कुरा भने आएको छैन।’, दुर्घटनापछि घाइते भएका वीरेन्द्रले नै प्रहरीलाई खबर गरेका थिए। प्रहरीलाई फोन गरेपछि उनी बेहोस अवस्थामा भेटिएका थिए।, स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले सुर्खेतमा जनस्वास्थ्य निरीक्षकहरूको सहभागितामा समीक्षा गोष्ठी आयोजना गरिएको थियो।, शनिबारदेखि नै सुरू भएको गोष्ठी सोमबार सम्म चल्ने छ। दुर्घटनामा मृत्यु भएको जनस्वास्थ्य निरीक्षकहरू सोही गोष्ठीमा पनि सहभागी थिए।, गोष्ठीमा दैलेख र सुर्खेतका स्वास्थ्य शाखा प्रमुखहरू सहभागी छन्।,
सुर्खेतको गाडी दुर्घटनामा ज्यान गुमाउने स्वास्थ्यकर्मीहरू |
रासस जुम्लाको चन्दननाथ नगरपालिका–८ रोकायाबाडामा गेडागुडीमा जडीबुटी मिसाएर खाँदा एक जनाको मृत्यु भएको छ।, तीन जना बिरामी भएका छन्।, मृत्यु हुनेमा स्थानीय ३५ वर्षीय दीपक रोकाया रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए। , प्रहरीका अनुसार ३८ वर्षीय तिल रोकाया, २८ वर्षीय टंक रोकाया र ३० वर्षीय पारस धराला बिरामी छन्। , बिरामी सबै तिल रोकायाको घर बनाउन आएका मिस्त्री थिए। गेडागुडी खाइसकेपछि सबै जना एक्कासि बेहोस भएपछि उपचारका लागि कर्णाली स्वस्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। , गेडागुडीमा हालिएको जडीबुटीबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।,
जडीबुटी मिसाएर गेडागुडी खाँदा एक जनाको मृत्यु |
सेतोपाटी संवाददाता पोखरा हवाई दुर्घटनामा मृत्यु भएकामध्ये अझै १४ जनाको शव पहिचान हुन बाँकी रहेको छ।, काठमाडौं ल्याएकामध्ये १४ जनाको शव पहिचान हुन बाँकी रहेको त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालका फरेन्सिक मेडिसिन विभागका प्रमुख डा गोपालकुमार चौधरीले जानकारी दिए।, चौधरीका अनुसार ती शव अत्यधिक जलेको हुनाले फरेन्सिक विधिबाट शव पहिचान हुन समस्या भएको हो। ‘ती शव अत्यधिक रुपमा जलेको हुनाले हामीलाई फरेन्सिक विधिबाट शव पहिचान गर्न समस्या भएको छ’, उनले भने, ‘आज साँझसम्म पनि हामी शव पहिचान गर्ने कोसिस गर्दछौँ।’, उनका अनुसार फरेन्सिक विधिबाट शव पहिचान गर्न नसकेमा ‘डिएनए’ परीक्षणबाट पहिचान गरिनेछ। नेपाल प्रहरीको प्रयोगशालामा ती शवको डिएनए परीक्षण गरिने विभागका प्रमुख डा. चौधरीले बताए। डिएनए परीक्षणबाट शव पहिचान गर्न कम्तीमा २२ दिन लाग्ने उनले जानकारी दिए।, फरेन्सिक जाँचका लागि ४८ वटा शव काठमाडौं ल्याइएको थियो। यस्तै पोखरामा २२ जना फरेन्सिक जाँच गरिएको छ।, यही माघ १ गते काठमाडौँबाट पोखरातर्फ गइरहेको यती एयरलाइन्सका जहाज सेती नदीको खोँचमा दुर्घटना भएको थियो।, दुर्घटनामा चार चालक दलका सदस्यसहित ७२ जनाको निधन भएको थियो। दुर्घटनामा परेकामध्ये १ जनाको खोजी अझै जारी रहेको छ।,
पोखरा हवाई दुर्घटना : अत्यधिक जलेका शव पहिचान गर्न समस्या |
राजेश घिमिरे चितवन, कालिका नगरपालिकाको शक्तिखोर बजारदेखि करिब ३ किलोमिटर पर सिद्धी दोभाननजिकै सडक छेउमा खरले छाएको एउटा झुप्रो छ। राम्ररी बेरबार पनि नगरिएको झुप्रो केही दिनअघि मात्रै बनेको सहजै अनुमान गर्न सकिन्छ। , झट्ट हेर्दा यो झुप्रो अति सामान्य छ। तर जब त्यसको आधार हेर्न थाल्छौं यसमा नदी दोहनको एउटा नमूना देख्न पाइन्छ।, यो सानो झुप्रो करिब ५० टिपर ढुंगामाथि निर्माण गरिएको छ। त्यो ढुंगा आडैमा रहेको कयर खोलाबाट अवैध रूपमा उत्खनन् गरिएको हो। झुप्रोअगाडि भेटिएका श्याम प्रजाले उक्त घर आफ्ना आफन्त पर्शुराम प्रजाले बनाएको बताए। तर कालिका नगरपालिकाका जनप्रतिनिधिहरू भने उक्त झुप्रो ढुंगा लुकाउनकै लागि केही दिन अघिमात्रै तयार गरिएको दाबी गर्छन्।, यो झुप्रोमुनि मात्रै होइन कयर खोला आसपासका जमिन, धेरै घरको आँगन, गल्लीतिर यसैगरी ढुंगा लुकाइएको छ। तीमध्ये ४८० टिपर ढुंगा तथा नदीजन्य पदार्थ कालिका नगरपालिकाले जफत गरेको छ। नगरपालिकाका मेयर विनोद रेग्मीले कयर खोलाबाट अवैध रूपमा उत्खनन् गरेर किनार, नजिकको जमिन तथा अन्य क्षेत्रमा डम्पिङ गरिएका नदीजन्य पदार्थहरू जफत गरिएको बताए।, 'स्थानीय तथा बाहिरका मान्छेहरूले अवैध रूपमा उत्खनन् गरेर नदीको दोहन गरिरहेको जानकारी पाएपछि हामीले आफ्नो कर्तव्य पूरा गरेका हौं,' मेयर रेग्मीले भने, 'भेटिएका नदीजन्य वस्तुहरू सबै जफत गरिरहेका छौं।', मेयर रेग्मीले वडा नम्बर ८, ९, १० र ११ बाट संकलन गरिएको ढुंगा, गिटी, बालुवा वडा नम्बर ७ को कार्यालय परिसरमा राखिएको बताए। त्यसको मूल्य एक करोड रूपैयाँभन्दा बढी पर्छ। नगरपालिकाको कार्यपालिकाको बैठकले जफत गरिएका वस्तुको लिलामका लागि बोलपत्र आह्वान गर्ने निर्णय गरेको छ।, 'यसबाट आएको पैसा हामी सोही क्षेत्रको शिक्षा, स्वास्थ्य, खानेपानी, नदी तटबन्ध लगायतका क्षेत्रमा खर्च गर्छौं,' मेयर रेग्मीले भने। नदीजन्य पदार्थ बिक्री गरेबापत ६० प्रतिशत स्थानीय तह र ४० प्रतिशत प्रदेश सरकारले प्राप्त गर्ने व्यवस्था छ।, नगरपालिकाले यो खोलाको ढुंगा, गिटी, बालुवा बिक्रीका लागि करिब दुई करोड रूपैयाँमा ठेक्कामा लगाएको थियो। त्यसयता यस वर्ष टेन्डर आह्वान गरेको छ। आईई गरेर कयर खोलामा टेन्डर, थाङखोला र बुंगखोलामा अमानतबाट नदीजन्य पदार्थ उत्खनन गरी स्थानीय विकासमा प्रयोग गर्ने तयारी गरेको मेयर रेग्मीले बताए।, 'प्रक्रियाअघि बढिरहँदा खोलामा ढुंगाहरू सबै चोरेर सकिए भन्ने गुनासो आएपछि हामीले अनुगमनलाई बढाएका थियौं,' उनले भने, 'गत पुस २९ गतेदेखि सुरू गरेको अनुगमन र निरीक्षण नियमित चलिरहेको छ।', असारदेखि भदौसम्म खोला, नदीमा पानीको बहाव बढ्ने भएकाले यी तीन महिना यहाँ उत्खनन गर्न पाइँदैन। उत्खननका लागि असोजमा आईई गरेर मंसिरसम्ममा टेन्डर आह्वान गर्ने चलन छ। , उपमेयर विमला तामाङले खोलाको मात्रै नभएर तटबन्धका लागि तारजालीभित्र राखिएको ढुंगा पनि चोरिएको बताइन्।, 'तारजाली फोरेर ढुंगा चोर्ने, तारजाली नै बेच्ने गरेको पनि पाइयो,' उनले भनिन्, 'यो खोलामा विभिन्न निकायबाट परेको बजेटबाट करोडौं खर्चमा तटबन्ध गरिएको थियो। चोरहरूले त्यो पनि बाँकी राखेनन्।', नगरपालिकाले नदी उत्खनन गरी डम्पिङ गरिएका ढुंगा धमाधम नियन्त्रणमा लिएपछि विभिन्न क्षेत्रबाट धम्की तथा दबाव आइरहेको उनले बताइन्।, मेयर रेग्मीले चोरीमा संलग्नहरू धम्की दिए पनि प्राकृतिक स्रोतको दोहनलाई नगरपालिकाले परास्त गर्ने बताए।, 'बेथितिलाई थितिमा ल्याउने कर्तव्य हाम्रो हो। हामी यो कर्तव्य पूरा गरी विधिको शासन चलाउँछौं,' रेग्मीले भने, 'धम्की, दबावको अघि झुक्दैनौं।',
चोरेको ५० टिपर ढुंगा लुकाउन बनाइएको खरको झुप्रो |
सेतोपाटी संवाददाता अपहरणमा परेका धनुषाको जनकपुरधामका २ जना युवाको भारतमा हत्या भएको छ।, उनीहरू १३ दिनदेखि सम्पर्कविहीन थिए।, जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ का २१ वर्षीय रोहित साह र वडा नम्बर १३ का २२ वर्षीय विष्णु साहको हत्या भएको प्रहरीले जनाएको छ। उनीहरू छिमेकी हुन्।, जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी प्रदीपबहादुर क्षेत्रीका अनुसार गत पुस २७ गते भारत गएका दुई युवा सम्पर्कविहीन भएको खबर आएको थियो। उनीहरू भारत सितामढी जिल्ला बेला परिहारमा रहेका आफन्तको घरमा गएका थिए।, तर उनीहरू आफन्तको घरमा नपुगेपछि खोजी गरिएको थियो।, ५० लाख फिरौती रकम माग गर्दै परिवारलाई भारतीय नम्बरबाट फोन आएपछि उनीहरू अपहरणमा परेको आशंका गरिएको हो। उनीहरू अपहरणमा परेकोबारे गत पुस २९ गते परिवारका सदस्यहरूले प्रहरीलाई खबर गरेका थिए।, गए राति करिब २ बजे उनीहरूको शव फेला परेको प्रहरीले जनाएको छ। घटनाबारे नेपाल प्रहरीले भारतीय प्रहरीसँग समन्वय गरिरहेको थियो। जमिनमा गाडेको अवस्थामा उनीहरूको शव फेला परेको प्रहरीले बताएको छ। , घटनामा संलग्न भएको आशंकामा प्रहरीले धनुषाबाट २ जनालाई पक्राउ गरेको छ। भारतीय प्रहरीले पनि ३ जनालाई पक्राउ गरेको छ। , शवको सनाखतको लागि डिएसपी दीपक राय मृतकका परिवारका सदस्यसँगै भारत पुगेका छन्।, यस्तै मधेश प्रदेश प्रहरी कार्यालयबाट पनि यो घटनाबारे प्रहरी निरीक्षकको टोलीले अनुसन्धान गरिरहेको छ।, अपहरणकारीलाई विष्णुको परिवारले २० लाख दिन राजी भएका थिए। तर अपहरणकारीले ५० लाखको माग गरेको विष्णुका हजुरबुबा रामकिशोर साहले बताए। ,
अपहरणपछि जनकपुरधामका २ युवाको भारतमा हत्या |
राजु अधिकारी सार्वजनिक जमिन अतिक्रमण गरेर बनाइएको घर धरान उपमहानगरले आइतबार डोजर लगाएर भत्काएको छ।, त्यसक्रममा स्थानीयबासी र सुरक्षाकर्मीबीच झडपसमेत भएको छ।, यद्यपि ठूलो संख्यामा परिचालित नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीले स्थिति नियन्त्रणमा लिएका थिए। , धरान उपमहानगरको वडा नम्बर ५ मा रहेको अँधेरी खोला किनारको जग्गा अतिक्रमण गरेर स्थानीय मुना चौधरी लिम्बूले घर बनाएकी थिइन्। सोही घर उपमहानगरले भत्काएको हो। , उपमहानगरले घर भत्काउनु अघि २ पटक घर नबनाउनन सूचना दिएको र बनेको संरचना भत्काउन भनेको उपमहानगरले कार्यालयले जनाएको छ। तर, राजनीतिक आडमा जमिन मिचेको भन्दै घर भत्काइएको कार्यालयको भनाइ छ। , नगरको डोजर आउने सूचना पाएपछि स्थानीयबासी घरको सुरक्षार्थ भेला भएका थिए। त्यो समूहलाई धरान ५ का पूर्व वडाध्यक्ष सन्तोष लिम्बूको साथ थियो। , उनीहरुले मुना चौधरी लिम्बूले लामो समयदेखि भोगचलन गरिरहेको जमिनमा घर बनाएको भन्दै भत्काउन नहुने अडान लिएका थिए। ‘यहाँ आएर मेयर हर्क साम्पाङले हामीसँग छलफल गरून्,’ भेला भएका स्थानीयबासीले सुरक्षाकर्मीसँग भनेका थिए, ‘यसरी जथाभावी गर्न पाइन्नँ।’, पूर्व वडाध्यक्ष लिम्बूले उपमहानगरले खोलाको भाग सिमांकन गर्नुपर्ने पनि माग गरेका थिए।, उपमहानगरले घर नबनाउन पत्राचार गरेपछि घरधनी मुनाले वडा कार्यालयलाई विपक्षी बनाएर अन्तरिम आदेशको माग गर्दै जिल्ला अदालत सुनसरीमा रिट दायर गरेकी थिइन्। तर उनको रिटमा अदालतले अन्तरिम आदेश दिएन।, घर बनेको जग्गालाई फुटबल मैदान बनाउने भन्दै यसअघिका वडाअध्यक्ष लिम्बुले नै सरकारी बजेटबाट रिटेनिङ वाल उठाएर जग्गा संरक्षण गरेका थिए। , ‘घरबार नभएकाहरुको बासस्थान उठाउँदिनँ भन्ने पूर्व प्रतिबद्धता मेयरले भुलेर घर भत्काउन लगाएका छन्, यो आपत्तिजनक छ’, आज बिहान डोजर पुगेपछि स्थानीयबासीले प्रतिवादका क्रममा भनेका थिए, ‘मेयरले यसबारे जवाफ दिनुपर्छ।’, उपमहानगरले निर्णय गरेर घर भत्काएको जनाएको छ।,
हर्क साम्पाङले धरानमा चलाए डोजर, स्थानीय र सुरक्षाकर्मीबीच झडप |
रासस नेपालले गर्व गर्न लायक व्यक्तित्व हुन डा सन्दुक रुइत। मोतिबिन्दुका कारण नेत्रज्योति गुमाउँदा अन्धकारमय जीवन बिताउन विवश लाखौँ नेपालीको आँखा देखाइदिएका उनले विश्वका अन्य मुलुकहरुमा पनि गएर सेवा गरेका छन्। विश्व समुदायमा नेपालको नाम चिनाउन त्यो पनि चिकित्सा प्रविधिमा उनले पुर्याएको योगदानलाई सबैले उच्च प्रशंसा गर्नैपर्छ।, मोतिबिन्दु उपचार गर्ने सरल विधि (इन्ट्राअकुलर लेन्स) हो विकास गरेर अन्धोपन हटाउन खेलेको भूमिकाको योगदान गर्दै हालै उनलाई अन्तरराष्ट्रिय पुरस्कार प्रदान गरिएको छ। बहराइनका राजा सेख हमद विन इसा अल खालिफाले सन् २००९ मा पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापना गरेको ‘इसा अवार्ड फर सर्भिस टू ह्युमानिटी’ संस्थाले उनलाई ‘इशा अबार्ड’बाट सम्मानित गरेको छ। पुरस्कारको राशि १० लाख अमेरिकी डलर रहेको छ।, आफू पुरस्कृत भएको खबर पाउँदा उनी बिरामीको उपचारमा व्यस्त रहेका थिए। सुरुमा उनको मोबाइलमा एसएमएस आएको थियो। त्यसपछि पुरस्कारबारे फोनबाट जानकारी भएको थियो। उनले अवार्डले प्राप्तले आफू ३५ वर्ष काम गरेको प्रतिफल पाएको बताए। पुरस्कारले नेपालीलाई संसारको मानचित्रमा नेपालले राम्रो काम गर्दा रहेछ भन्ने देखाएको उनको भनाइ रहेको छ। आफ्नो क्षेत्रबाट नेपालीको आत्मसम्मान, प्रतिष्ठालाई बढाउन पाएकामा उनी आफ्नो जीवनलाई सार्थक ठान्छन्। , उनले सुरुमा पुरस्कार पाउने खबर सुन्दा आफूलाई विश्वास नलागेको बताए। उक्त अवार्डका लागि एक सय ४५ व्यक्ति तथा संस्थाले मनोनयनमा दर्ता गराएका थिए। पुरस्कारका लागि उनले कुनै पनि मनोनयन दर्ता गराएका थिएनन्। जुरी कमिटी (निर्णायक)ले नै उनले आँखा उपचारमा पुर्याएको योगदानलाई महत्व दिँदै छनोट चरणमा छवटा व्यक्ति तथा संस्था अन्तिम सूचीमा राखेपछि मात्रै जानकारी गराइएको थियो। प्रस्तुत छ उनीसँग राससका समाचारदाता ,शरद् शर्मा,ले गरेको कुराकानीको अंश:, तपाईँले हालै अन्तर्राष्ट्रियकरण पुरस्कार पाउनुभएको छ, ठुलो राशिको पुरस्कार पाउँदा कस्तो महसुस गर्नुभएको छ ?, मलाई यो अवार्ड पहिलो चोटि पाएको खबर सुन्दा विश्वास पनि लागेन। पुरस्कारका लागि मैले नाम दर्ता पनि गरेको थिइनँ। पछि निर्णायक टोलीले नै नाम राखेछ। नेपालमा बसेर काम गरिरहेको मान्छेले यत्रो ठुलो अन्तर्राष्ट्रिय पुरस्कार पाउनु मुरा लागिभन्दा पनि देशकै गौरवको कुरा हो। पुरस्कारले मेरो जीवनभरिको लामो तपस्याको (३५ वर्ष) गरेको कामको संसारमा कुनै संस्थाले सम्झेकामा गौरवको अनुभव भएको छ। , पुरस्कारको प्राप्तिको श्रेय कसलाई दिनुहुन्छ ? , तिलगङ्गा आँखा अस्पतालका मेरा सहपाठीलाई यसको पहिलो श्रेय दिन्छु। त्यसपछि मेरो परिवार र यतिका वर्षदेखि मलाई विश्वास गरेका बिरामीहरुलाई श्रेय दिन चाहन्छु। केही मात्रामा मेरा अन्तर्राष्ट्रिय साथीहरुलाई यसको श्रेय जान्छ। , आफ्नो कुन कामका लागि यो पुरस्कार दिइएको हो भन्ने लाग्दछ ? , मलाई के लाग्छ भने अन्धोपन निवारणमा मैले खेलेको भूमिकाको कारणले पुरस्कार प्रदान गरिएको हो। नेपालजस्तो ठाउँबाट सङ्घर्ष गरेर आँखाको इन्ट्राअकुलर लेन्सको प्रणालीको विकास गरेबापत प्रदान गरिएको हो। अन्धोपन निवारण गर्न नेपालबाहिर अरू देशमा पनि हामीले सीपको विकास गरेका छौँ। यो पुरस्कार अन्तर्राष्ट्रिय योगदान नगरीकन दिइँदैन। पुरस्कारमा नै अन्तर्राष्ट्रिय रुपमा प्रभाव पारेको हुनुपर्दछ भन्ने लेखिएको थियो। पछाडि परेका समुदायमा पनि पहुँच, सर्वसुलभ तरिकाले पुगोस् भन्ने हिसाबले पनि हेर्ने गरिन्छ। यी विभिन्न मापदण्डहरु पूरा भएका कारण नै मलाई पुरस्कृत गरिएको हो।, अन्धोपन निवारणमा तपाईँले कस्तो खालको लेन्स बनाउनु भएको थियो नि ?, हामीले आधुनिक मोतियाबिन्दुको शल्यक्रियालाई सरलीकरण गर्यौँ। मोतियाबिन्दुको शल्यक्रियालाई सरलीकरण गरेर देशबाहिर हामीले पुर्याएका छौँ। त्यस्तै हामीले ‘इन्ट्राअकुलर लेन्स’ को विकास पनि गरेका छौँ। तिलगङ्गामा आँखामा हाल्ने लेन्स अन्तर्राष्ट्रियकरण ‘इन्ट्राअकुलर लेन्स’ हो। त्यो लेन्स सुरु गर्दा सन् १९९० सुरुमा अमेरिकालगायत विदेशबाट बनेर आउने गर्दथ्यो। यसको मूल्य एक युनिटकै दुई सय डलर जति पर्ने गर्दथ्यो। त्यसैले यो सर्वसाधारणको पहुँचमा थिएन। हामीले यहाँ छ÷सात वर्षमा धेरै मिहेनत गरेर उत्पादन गर्न थाल्यौँ। त्यो लेन्सको दामलाई हामीले पाँच डलरभन्दा कममा झार्न सक्यौँ। त्यो झार्ने बित्तिकै धेरै आँखाका बिरामीले सेवा पाएका छन्। लेन्स एकदमै विशेष खालको प्लास्टिकको सामग्री हो। यो आँखामा राखिसकेपछि (इनप्लान्ट गरेपछि) मोतियाबिन्दुको शल्यक्रियापछि मोटो चस्मा लगाउनु पर्दैन। यसले आँखाको नजरलाई मोतियाबिन्दुको शल्यक्रियापछि राम्रो देख्नमा मद्दत गर्दछ। यसरी हामीले तिलगङ्गामा नै लेन्स उत्पादन गर्दछाँै। बाहिर पनि उत्पादन हुन्छ। , तपाईँले अन्धोपन हटाउनका लागि चलाउनु भएको अभियान कहाँ पुग्यो ?, हो हामीले विश्वमा नै अन्धोपनबाट हटाउनका लागि अभियान नै सञ्चालन गरेका छौँ। आज अफ्रिका, एसियाका विकासोन्मुख देशहरुमा नेपालमा विकास गरेको मोतीबिन्दुका शल्यक्रियाको प्रणाली निकै प्रयोगमा आएको छ। हामीले त्यहाँका चिकित्सकलाई पनि तालिम गराएका छौँ। विश्वमा नै अन्धोपनबाट हटाउने अभियानअन्तर्गत वर्षमा ७० हजारदेखि एक लाख मानिसलाई आँखा देख्नसक्ने बनाएका छौँ। हामीले धाना, इथोपियालगायत देशमा अभियान सञ्चालन गरिसकेको छौँ भने इन्डोनेसिय र लाओस देशमा गर्ने तयारीमा छौँ। ती देशमा हामीले अन्धोपन हटाउन गरेको प्रणालीका बारेमा अवगत गराएका छौँ। नेपालमा पनि ग्रामीण भेगमा गएर अन्धोपन निवारणका लागि विभिन्न शिविरहरु सञ्चालन गरिएका छ। , नेपालमा अन्धोपनको समस्या खासगरी कुन क्षेत्रमा धेरै रहेको छ ? , खासगरी ग्रामीण र विपन्न समुदायमा अन्धोपनको समस्या बढी रहेको छ। अज्ञानता र गरिबीले गर्दा आँखाको ज्योति फर्काउन सकिन्छ भन्ने थाहा नपाउने धेरै मानिस छन्। खासगरी कर्णाली प्रदेशमा यो समस्या अझ धेरै रहेको छ। त्यसैले हामीले सुर्खेत आँखा अस्पतालसँग मिलेर कर्णालीका विभिन्न ठाउँमा शिविर सञ्चालन गरेर वर्षौंदेखि मोतीबिन्दुका कारण अन्धोपनमा रहेका धेरैलाई पुनः देख्न सक्ने बनाएका छौँ। , नेपालबाट अन्धोपन हटाउनका लागि अभियानलाई सफल तुल्याउन राज्यले के गरिदिओस् भन्ने लाग्दछ ? , देशबाटै अन्धोपन निवारण गर्ने कुरा एउटा व्यक्ति वा संस्थाको प्रयासबाट मात्रै सम्भव नहुने हुँदा यसमा सरकारको सहयोग आवश्यक हुन्छ। हामीसँग ज्ञान र प्रविधि भएकाले सरकारसँग हातेमालो गरेर अगाडि बढ्न तयार छौँ। हामीले यहाँ बनाएको लेन्सलाई नेपालमा प्रयोग गर्नका लागि सहज वातावरण बनाइदिन सरकारसँग हाम्रो आग्रह हो। प्रमाणीकरण नगरीकन बाहिरका लेन्स गैरकानुन तरिकाले गरेर यहाँ आइरहेका छन्। त्यसले एकातिर विदेशी मुद्रा बाहिर गएको छ भने अर्कोतिर गुणस्तरहीन सामग्रीको प्रयोगले आँखाजस्तो संवेदनशील अङ्गमा जथाभाबी प्रयोग हुनु गम्भीर कुरा पनि हो। , अझै पनि विपन्न र पछाडि परेका समुदायका मानिसमा अन्धोपनको समस्या धेरै छ। उनीहरुलाई आँखा देख्न सक्षम बनाउनु चुनौतीपूर्ण छ। सरकारले लेन्सको उत्पादन बढाउनका लागि अलिकति आर्थिक सहयोग (फन्ड) गरेमा ती विपन्न वर्गका मानिसलाई सेवा दिन सकिन्थ्यो। लेन्सलाई देशको नमुना बनाएर नै हामी उत्पादन गर्दछौँ। लेन्सका लागि कच्चापदार्थ बाहिरबाट ल्याउनुपर्ने हुन्छ। लेन्सका हामीले धेरै नै उत्पादन गर्न सक्छौँ। अहिले वर्षको तीन लाख उत्पादन गरिरहेका छौँ भने सरकारले सहयोग गर्यो भने १५ लाख उत्पादन गर्न सकिन्छ। नेपाल मात्र नभएर बाहिर पनि पठाउन सक्छौँ। त्यतिबेला लेन्स निर्यातयोग्य वस्तु बनाउन सकिन्छ। , आँखाको उपचारको क्षेत्रमा नेपाल विश्वका कति औँ स्थानमा रहेको छ ?, अहिले त्यो भन्न गाह्रो हुन्छ। नेपालमा आँखाको सेवा पहिलेभन्दा धेरै नै विकसित भएको छ। तैपनि अझै ठुलो सङ्ख्यामा मानिसहरू मोतिबिन्दुलगायत आँँखाको सामान्य रोगबाट पनि अन्धकारमय जीवन व्यतीत गर्न विवश छन्। आँखा उपचारको सेवा ग्रामीण क्षेत्रसम्म विस्तार गर्न सकेका छैनौँ। हामीकहाँ आँखाको उपचार सेवा सरल र सुलभ रहेको छ। अनि यसको गुणस्तर पनि राम्रो छ। गुणस्तर राम्रो भएकाले नै विश्वका विभिन्न देशबाट नेपालमा आँखा उपचारका लागि आउने गर्दछन्। नेपाललाई आँखा उपचारमा विश्वकै प्रमुख गन्तव्य स्थल बनाउन सकिन्छ भन्ने मेरो आत्मविश्वास छ। ,
नेपाललाई आँखा उपचारमा विश्वकै प्रमुख गन्तव्यस्थल बनाउन सकिन्छ : डा. रुइत |
सेतोपाटी संवाददाता पोखराको सेती खोँचमा भएको जहाज दुर्घटनामा परी निधन भएका पोखरा–४ गणेशटोल निवासी डाक्टर परिवारको सामूहिक दाहसंस्कार गरिएको छ ।, दुर्घटनाको आठ दिनपछि अस्पतालले परिवारलाई शव बुझाएपछि पोखरा सेती नदीस्थित तुल्सी घाटमा आइतबार उनीहरूको सामूहिक दाहसंस्कार गरिएको हो । काठमाडौंबाट पोखरा आउने क्रममा जहाज दुर्घटनामा परी पोखरा–४ गणेश टोल निवासी एकै परिवारका ३८ वर्षीय डा सुशील श्रेष्ठ, उहाँकी श्रीमती डा सोना श्रेष्ठ र १५ महिने छोराको निधन भएको थियो । , सेती नदीमा आइतबार डाक्टर दम्पतीलाई एउटै चितामा दागबत्ती दिइएको छ भने नाबालक छोराको व्रतबन्ध भइनसकेका कारण सेती नदीको किनारमा गाडिएको छ। सुशीलका बुबा मदनकाजी विभिन्न रोग र परिवारको चिन्ताका कारण किरिया बस्न सक्ने अवस्था नहुँदा एक ब्राह्मणलाई किरिया बस्न लगाइएको छ। , तीन जनाकै शव क्षतविक्षत अवस्थामा थिए। डा सुशील दुई वर्षदेखि राष्ट्रिय ट्रमा सेन्टरमा अर्थोपेडिक सर्जनका रूपमा कार्यरत थिए। डा सोना पनि एमडी गर्दै थिइन्। डा सुशीलले काठमाडौँ मेडिकल कलेजबाट एमबीबीएस पढेर चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) बाट अर्थोपेडिक सर्जरीमा एमडी गरेका थिए।, शोकमा डुबेको परिवारलाई सान्त्वना दिन आज मदनकाजी श्रेष्ठको घरमा थुप्रै छिमेकी जम्मा भएका थिए। । परिवारको निधनका कारण मदनकाजीको आँखामा आँसु आठ दिनदेखि थामिएको छैन। घरमा शव ल्याएपछि बुबा मदनकाजीलाई सम्हाल्नै नसकिएको छिमेकी कृषमान पालिखेले सुनाए। सुशीलकी आमा पनि परिवारको सम्झनाले मुर्छित अवस्थामा छन्। , विभिन्न रोगसँग लड्दै आका श्रेष्ठलाई आइतबार पोखरामा भएको जहाज दुर्घटनाले परिवारमा परेको बज्रपातले झनै कमजोर बनाएको छ । उनका कान्छा छोरा, बुहारी र १५ महिने नातिको पोखराको सोती खोँचमा भएको जहाज दुर्घटनामा परेर निधन भएको हो । , परिवारसँग बसेर खुसीसाथ माघे सङ्क्रान्ति मनाउने सपना बोकेर काठमाडौंबाट पोखरा आउँदै गरेको यती एयरलाइन्सको एटीआर दुर्घटनाले मदनकाजीका कान्छा छोरा ३८ वर्षीय डा सुशील श्रेष्ठ, बुहारी डा सोना र १५ महिने नाबालक नातिको सपना अधूरै बन्यो। , ‘आँखामा राखे पनि नबिझाउने, अनुशासित डा सुशील, उनकी पत्नी र छोराको निधनले गाउँ नै शोकमा डुबेको छ। सबैलाई सम्मान र अनुशासित व्यक्तिको निधनले समाज र गाउँलाई नै टुहुरो बनाउँदो रहेछ’, पालिखेले भने, ‘भुल्छु भन्दा पनि उनीहरूले आफूप्रति गरेको माया र सम्मानलाई भुल्नै सक्दिनँ।’,
जहाज दुर्घटनामा परेका डा दम्पतीको सेती नदीमा सामूहिक दाहसंस्कार |
एजेन्सी अमेरिकाको दक्षिणी क्यालिफोर्नियाको एक एसियाली सहरमा गोली चल्दा कम्तिमा पनि १० जनाको मृत्यु भएको छ।, यस्तै १० जना घाइते समेत भएको बिबिसीले जनाएको छ। , स्थानीय समुदायले ‘लुनार नयाँ वर्ष’ मनाइरहेका बेला मोन्टेरी पार्कमा रहेको एक नृत्य स्थलमा बन्दुकधारीले गोली चलाएको प्रहरीले जनाएको छ।, लस एन्जलस काउन्टी शेरिफ डिपार्टमेन्टका क्याप्टेन एन्ड्रयू मेयर्सका अनुसार शनिबार राति सवा १० बजे घटना भएको थियो। , ‘खबर पाएपछि अधिकारीहरू त्यस स्थानमा प्रवेश गर्दा केही मृतक र घाइतेहरू घटनास्थलमा थिए,’ उनले भने, ‘मोन्टेरी पार्क प्रहरी फायर डिपार्टमेन्टका अधिकारी घटनास्थलमा पुगेर घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाएको थियो। १० जना घटनास्थलमा मृत फेला परेका थिए।’, यस घटनाका आरोपी फरार छन्। उनलाई प्रहरी खोजिरहेको छ।,
क्यालिफोर्नियामा गोली चल्दा कम्तिमा १० जनाको मृत्यु |
सेतोपाटी संवाददाता आज साँझबाट नेपालको पश्चिमी क्षेत्रमा वर्षा सुरू हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। , हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहे पनि आज साँझबाटै देशको सुदूरपश्चिम हुँदै पश्चिमी निम्न चापीय प्रणाली नेपाल प्रवेश गर्ने महाशाखाले जानकारी दिएको छ।, जसको प्रभावले सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका साथै लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। , सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।, यो प्रणाली काठमाडौं उपत्यका आसपास आउन केही समय नै लाग्ने देखिएको महाशाखाका मौसमविद सन्जिब अधिकारीले सेतोपाटीलाई जानकारी दिए। ‘आजभन्दा भोलि वर्षा हुने सम्भावना अलिक बढी देखिए पनि काठमाडौंसम्म आइपुग्ने सम्भावना छैन’, अधिकारीले भने।, हाल काठमाडौं उपत्यकाको मौसम हिजो अस्तीको भन्दा केही सफा देखिएको छ। आजको भिजिविलिटी ५ किलिमिटरसम्म रहेको उनले जानकारी दिए। बिहान ७ बजेको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस मापन गरिएको छ।, मंगलबार र बुधबार पनि सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका थोरै भूभागमा हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।, हल्का वर्षा र हिमपातको साथै तराईका केही भू-भागहरूमा हुस्सु/कुहिरो लागेर दैनिक जनजीवन प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।,
पश्चिमी निम्न चापीय प्रणाली नेपाल प्रवेश गर्दै, आजदेखि पानी पर्ने सम्भावना |
भगवती पाण्डे रूपन्देहीको तिलोत्तमामा करोडौं मूल्य पर्ने सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता गरिएको पाइएको छ।, तिलोत्तमा नगरपालिका–६, हरपुरस्थित कित्ता नम्बर १४०, १४३ र २१३ को सार्वजनिक जग्गा त्यहीँका शान्तकुमार कार्की र रञ्जना थापा क्षत्रीले संयुक्त रूपमा दर्ता गराएका हुन्।, जग्गा कारोबार गर्ने कार्की तिलोत्तमा–४ मा रहेको जनज्योति सामुदायिक विद्यालयका शिक्षकसमेत हुन्। रञ्जना उनकी पत्नी हुन्।, कार्कीले २०६९ साउन १५ गते २ बिघा ६ कट्ठा सार्वजनिक जग्गा कित्ता नम्बर १४० कायम गरी आफू र श्रीमतीका नाममा दर्ता गराएको मालपोत कार्यालय बुटवलको कम्प्युटर अभिलेखमा देखिन्छ।, त्यस्तै कित्ता नम्बर १४३ को ११ कट्ठा पौने १० धुर सार्वजनिक जग्गा २०६९ साउन १२ गते व्यक्तिगत नाममा दर्ता गरेको पाइएको छ। कित्ता नम्बर २१३ को १६ धुर जग्गा पनि उनीहरूले आफ्नो नाममा पारेका छन्।, उनीहरूले २०७२ वैशाख २३ गते ती जग्गाको जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि निकालेको देखिएको छ। यी तीनै कित्ता जग्गा सँगसँगै छन्।, कार्कीले उक्त जग्गा कमलनाथ कँवरका नाममा रहेको र उनका नाति नाथुराम कँवरसँग हिसाब मिलान गर्दा आफूले नामसारी गरेको दाबी गरेका छन्।, मालपोत कार्यालयको अभिलेखमा भने कार्कीले भनेजस्तो तीनवटै कित्ता जग्गा विगतमा कहीँकतै व्यक्तिगत नाममा रहेको देखिँदैन।, मालपोत कार्यालय बुटवलका प्रमुख मालपोत अधिकृत उपेन्द्रराज पौडेलले नक्कली लालपुर्जा बनाएर कार्कीले आफ्नो नाममा दर्ता गराएका तीनवटै कित्ताको अभिलेख विगतमा व्यक्तिको नाममा दर्ता नदेखिएको बताए।, 'मैले सबै फाँटका प्रमुखसँग प्रतिवेदन लिएँ, कतै पनि कुनै व्यक्तिको नाममा दर्ता भएको अभिलेख देखिएन,' उनले भने, 'नापीमा समेत पर्ती जग्गा भनेर प्रतिवेदन आएको छ।', नापी र मालपोतको रजिस्टरमा व्यक्तिका नाममा नदेखिएको जग्गा कार्यालयको अनलाइन (एलआरआईएमएस) प्रणालीमा कसरी व्यक्तिको नाममा आयो भन्ने खोजी भइरहेको पौडेलले बताए।, तिलोत्तमा नगरपालिका–६ का वडा सचिव कृष्णबहादुर क्षत्रीले उक्त जग्गाको मालपोत तिर्न अहिलेसम्म वडा कार्यालयमा कोही नआएको बताए।, 'आनन्द वनका धेरै जग्गा सार्वजनिक, पर्ती र गुठी संस्थानका नाममा छन्। त्यस्ता जग्गाको तिरो मालपोत कार्यालयमै तिर्ने भएकाले त्यो जग्गाको अभिलेख वडामा राखिँदैन,' क्षत्रीले भने, 'संरचना निर्माण गर्ने वा धितो राख्ने अवस्था भए मात्रै वडामा आउने हो।', यसबीच कार्कीको समूहले मालपोत र नापी कार्यालयको मूल स्रेस्तामा पर्ती अर्थात् सरकारी उल्लेख भएको उक्त जग्गाको लालपुर्जा तयार गरी बिचौलियामार्फत् बेचबिखनको तयारी गरेको छ।, कार्कीले कित्ता नम्बर १४० को २ बिघा ६ कट्ठा र कित्ता नम्बर १४३ को ११ कट्ठा पौने १० धुर जग्गाको २०६९ सालमै लालपुर्जा बनाएको पाइएको छ। अहिले कार्कीले बाक्लो बस्ती नजिकै रहेको उक्त जग्गा बिक्री गर्न बिचौलियाहरू परिचालन गरेका छन्। उनले जग्गाको मूल्य ८ करोड रूपैयाँ राखेका छन्।, यसरी नक्कली लालपुर्जा बनाएर आनन्द वन क्षेत्रमा रहेको जग्गा हडप्ने प्रयत्न गरेको सूचना पाएपछि स्थानीयवासीको सहयोगमा सामुदायिक वनले त्यहाँ तारबार गरेको छ।, सामुदायिक वनका पूर्वअध्यक्ष अर्जुन उपाध्यायका अनुसार तिनाउ नदीको उकास क्षेत्र रहेको उक्त जग्गा २०४३ देखि नै स्थानीयवासीले संरक्षण गर्दै आएका थिए। २०४९ सालमा जिल्ला वन कार्यालयबाट सामुदायिक वनको नाममा ल्याएर संरक्षण गरिएको उपाध्यायले जानकारी दिए।, 'तिनाउ नदीले बस्ती जोखिममा पार्ने भएपछि उकास क्षेत्र तारबार गरेर संरक्षण गरिएको हो,' उनले भने, 'त्यो जग्गा कुनै पनि व्यक्तिको नाममा भएको मलाई थाहा छैन।', स्थानीयवासीले जग्गाको लालपुर्जा व्यक्तिको नाममा छ र सस्तैमा बिक्री गर्छन् भन्दै केही मान्छे आउन थालेको बताए।, 'हामीले लालपुर्जा हेरौं, जग्गाधनीसँग भेट गराउनुस् भन्यौं तर भेट गराएनन्,' एक स्थानीयले भने।, स्थानीयवासी प्रकाश पाण्डेले कित्ता नम्बर २१३ को १६ धुर जग्गा कुनै समय आफ्नी हजुरआमा पवित्रा पँडेनीका नाममा दर्ता रहेको दाबी गरे। धेरै वर्षदेखि यहाँ बसोबास गर्दै आएको आफ्नो परिवारसँग १२ बिघाभन्दा बढी जग्गा रहेको र आफूहरूले चासो नदिँदा कतिपय जग्गा अरूले हडप्दै गएको उनको भनाइ छ।, मालपोत कार्यालयको अभिलेखमा भने पाण्डेले भनेजस्तो उक्त जग्गा पवित्रा पँडेनीको नाममा दर्ता भएको पनि देखिँदैन।, कार्की दम्पतीको नाममा भएको लालपुर्जा देखाएर केही बिचौलियाले चलखेल गर्न थालेपछि मालपोत कार्यालय बुटवलले शंकास्पद मान्दै पुर्जा कब्जामा लिएको कार्यालय प्रमुख पौलेलले बताए।, 'शंकास्पद तरिकाले पुर्जा कायम भएको देखिन्छ,' उनले भने, 'कार्यालयको रेकर्डमा यसको अभिलेख देखिन्न, तर कम्प्युटर सिस्टममा इन्ट्री भएको देखिएकाले हामी पुर्जा कब्जामा लिएर खोजतलास गरिरहेका छौं।', कम्प्युटर रेकर्डअनुसार उक्त जग्गा दर्ताको विवरण बुटवलबाट आएको देखिन्छ। यसमा कसैको मिलेमतो हुनसक्ने आशंकामा २०७९ पुस १७ गते भूमि व्यवस्था तथा अभिलेख विभागलाई पत्राचार गरिएको उनले जानकारी दिए।, 'कार्यालयमा स्रेस्ता नै फेला नपरेको जग्गा कुन मितिमा कसको युजर आइडीबाट कम्प्युटर इन्ट्री गरिएको हो? प्राविधिक रूपमा त्यो जग्गाको विषयमा भएको सम्पूर्ण अभिलेख खुलाएर पठाउन आग्रह गर्दै विभागलाई पत्राचार गरेका छौं,' पौडेलले भने, 'अहिलेसम्म विभागको जवाफ आएको छैन।', अभिलेख विभागले जवाफ नपठाएपछि मालपोत कार्यालय बुटवलले अख्तियार दुरूपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई पनि पत्राचार गरेको छ।,
दुई बिघाभन्दा बढी सार्वजनिक जग्गा कसरी पुग्यो व्यक्तिका नाममा? |
रासस कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले छिट्टै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन्। , सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) बीचको सिटको बाँडफाँट टुंगो यसअघि नै लागिसकेको जनाउँदै उनले केही प्राविधिक कारणले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको जानकारी दिए।, ‘अब आजभोलिसम्म हामी मन्त्रिपरिषद् विस्तारका साथै यसलाई पूर्णता दिन्छौं’, उनले भने, ‘सत्तारूढ दलभित्र भएको सहमति कार्यान्वयनका सन्दर्भमा विमति छैन। मन्त्रालय समायोजन गर्ने कुरामा आएका प्राविधिक कठिनाइका विषयमा छलफलमा छौं।’, एमाले कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेलले सात सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने सहमतिअनुसार अगाडि बढ्नुपर्ने बताए।, मन्त्रालय समायोजनको कुरा मुख्यमन्त्री नेतृत्वको सरकारले गर्ने जनाउँदै उनले मन्त्रिपरिषद्लाई पूर्णता दिने जिम्मेवारी आफूमा नरहेको स्पष्ट पारे।, कर्णाली प्रदेशका प्रमुख सचिव डा गोपीकृष्ण खनालले मन्त्रालय समायोजनको प्राविधिक प्रक्रियालाई छिट्टै टुङ्ग्याइने बताए।, उनले भने, ‘अब जे जसो गरी भए पनि मन्त्रालय समायोजनको विषयमा छिट्टै टुंगो लाग्छ।’ ,
छिट्टै मन्त्रिपरिषद्ले पूर्णता पाउँछः मुख्यमन्त्री शर्मा |
एजेन्सी भारतको केरला जिल्लाको प्रसिद्ध गुरूवायुर श्रीकृष्ण मन्दिरले आफ्नो बैंक खातामा १७०० करोडभन्दा बढी भारतीय रूपैयाँ अर्थात २७२० करोडभन्दा बढी नेपाली रूपैयाँ र २६३ किलोभन्दा बढी सुन रहेको बताएको छ।, समाचार एजेन्सी पीटीआईका अनुसार मन्दिर प्रशासनले आरटीआईको जवाफमा उक्त जानकारी दिएको हो।, मन्दिरमा मूल्यवान ढुंगा, सिक्का र करिब २० हजार सुनको लकेट सहित २६३ दशमलव ६३७ किलो सुन रहेको मन्दिरका अधिकारीले बताएका छन्।, यसअघि मन्दिर व्यवस्थापनले सुरक्षाको कारण देखाउँदै मन्दिरको सम्पत्ति विवरण दिन अस्वीकार गरेको थियो।, द हिन्दू वेबसाइटका अनुसार एक अपीलपछि आरटीआईलाई मन्दिरले जवाफ दिएको हो। जवाफ अनुसार मन्दिरमा ६ हजार ६०५ किलो चाँदी, १९ हजार ९८१ सुनको लकेट र ५ हजार ३५९ चाँदीका लकेटहरू रहेको बताइएको थियो।, यस मन्दिरको प्रमुख देवता भगवान गुरुवायुरप्पन हुन्, जसलाई बालगोपालन (भगवान कृष्णको बाल स्वरूप) भनेर पूजा गरिन्छ।,
यस मन्दिरमा भगवानलाई आफ्नो तौल बराबरको वस्तु चढाउने चलन छ। , सन् २०१९ को जुनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई कमलको फूलले तौलिएको थियो। मन्दिरमा यीनै फूलले विशेष पूजा गरिएको थियो।, मन्दिरको भित्तामा श्रीकृष्णको बालस्वरूपको चित्र कोरिएको छ ।, Guruvaur Sree Krishna Temple in Kerala's Thrissur district, which recently revealed details of bank deposits to the tune of over Rs 1,700 crore, declares over 260 kg gold in stock: RTI reply,
— Press Trust of India (@PTI_News) ,January 22, 2023, ,
केरलाको एक मन्दिरको सम्पती २७२० करोडभन्दा बढी नगद, २६३ किलो सुन |
रासस चितवन राष्ट्रिय निकुञ्जमा तस्करीका कारण गैंडा मर्न थालेपछि उच्च सतर्ककता अपनाइएको छ। , यही माघ ६ मा चोरी शिकारी गर्नेहरूले गैंडा मारेपछि निकुञ्जले गैंडा संरक्षणका लागि उच्च सर्तकता अपनाएको हो।, निकुञ्जका अनुसार २०७८ साउनपछि चोरी शिकारीका कारण गैंडा मरेका थिएनन्। शिकारीले गैंडा मार्न थालेपछि उच्च सर्तकता अपनाउन थालिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए।, उनका अनुसार निकुञ्ज क्षेत्रभित्रका २२ वटा उपभोक्ता समिति अन्तर्गत रहेका चोरी शिकारी नियन्त्रण इकाइलाई प्रभावकारी रूपले चलायमान बनाउन सुरू गरिएको छ। , उनले भने, 'चोरी शिकारीसम्बन्धी जनचेतनासहित इकाइलाई सक्रिय बनाइएको छ।' , निकुञ्जमा गैंडा तस्कर बढेपछि यस विषयमा अनुसन्धान सुरू गरिएको छ।, गैंडा संरक्षणसँग आबद्ध सरोकारवाला निकायबीच छलफल गरी सचेतना तीव्र बनाउँदै सूचना संयन्त्र थप प्रभावकारी बनाउन गृहकार्य सुरू गरिएको उनले बताए।, गैंडाको बाक्लो बासस्थान रहेको क्षेत्रमा नियमित गस्ती बढाइएको र सो क्षेत्रमा रहेका समुदायलाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको निकुञ्जले जनाएको छ।, चालु आर्थिक वर्षमा निकुञ्जमा ११ गैंडा मरेका छन्। जसमध्ये ८ गैंडा कालगतिले मरेका हुन भने दुइटा चोरी शिकारीले मारेका छन्। एउटा गैंडा गाउँ पस्ने क्रममा विद्युतीय करेन्ट लागेर मरेको तिवारीले जानकारी दिए।, गैंडा मर्ने क्रम बढेसँगै निकुञ्जले वन र वन्यजन्तुसम्बन्धी सुरक्षामा विशेष काम सुरू गरेको छ।, निकुञ्जमा नेपाली सेना र कर्मचारीको संयुक्त र एकल गरी ५७ पोष्ट छन्। ती पोष्टमध्ये कतिपयमा हात्तीसमेत छन्।, निकुञ्जमा दैनिक पैदल, साइकल, डुङ्गा, हात्ती र गाडीबाट नियमित गस्ती गरिँदै आएको छ। तिवारीका अनुसार अनुसन्धानमा कुकुरसमेत प्रयोग गरिन्छ। तस्करले गैंडा मारेपछि गस्ती कडाइका गरिनुका साथै तस्करीमा संलग्न भएकाको खोजी तीव्रता दिइएको उनले बताए।, सशस्त्र द्वन्द्वको समयमा चोरी तस्करीबाट एकै वर्षमा ४२ वटासम्म गैंडा मारिएका थिए। पछिल्ला वर्षमा चोरी शिकार नियन्त्रण हुँदै शून्यमा झरेको थियो। पुनः तस्करी सुरू भएपछि यसलाई विशेष ध्यान दिएर नियन्त्रणको अभियानमा निकुञ्ज प्रशासन लागेको जनाइएको छ।, पछिल्लो गणना अनुसार नेपालमा सात सय ५२ एकसिंगे गैंडा छन्, जसमध्ये छ सय ९४ चितवन राष्ट्रिय निकुञ्जमा छन्। ,
गैंडा मर्न थालेपछि उच्च सतर्कता |
सबिना श्रेष्ठ मिथिलाक कथासभ : अध्याय १, अंग्रेजी शब्द 'मिथ' जोडिएर यो सहरको नाम मिथिला रहनु एउटा गज्जबको संयोग हो।, कथ्य (मिथ) र तथ्यको मिश्रणमा यदि सहर बन्छ भने मिथिला अलि बढी कथ्य र केही तथ्य मिलेर बनेको सहर हो। इतिहासका अभिलेखमा नभेटिने, पुरातात्विक अन्वेषणले पुष्टि नगर्ने र वैज्ञानिक खोजले पनि सुल्झाउन नसक्ने रहस्य 'मिथ' मा लुकेको हुन्छ। झन् नाममै मिथ जोडिएको यो सहरबारे जान्न हामीले ऐतिहासिक अभिलेखभन्दा अगाडि पुराणका ठेलीहरू पल्टाउनुपर्छ।, पुराण भन्छ, 'मिथिला पूर्वमा कौशिकी (कोशी) नदीदेखि पश्चिममा गण्डकी र दक्षिणमा गंगा नदीदेखि उत्तरमा हिमालय क्षेत्रसम्म फैलिएको थियो। गण्डकी किनारमा रहेको जंगललाई त्यति बेला चम्परायन भनिन्थ्यो। गण्डकीदेखि चम्परायनसम्म फैलिएको क्षेत्र विदेह नामले प्रख्यात थियो जसलाई तिरभुक्ती वा तिरहुत भन्न थालियो।', संस्कृति अध्येताहरूका अनुसार मिथिला सहर पहिले भारतको वैशाली, मुजफ्फरपुर, दरभंगा, भागलपुर लगायत ठाउँसम्म फैलिएको थियो। सन् १९०३/०४ मा वैशालीमा गरिएको पुरातात्विक उत्खनन क्रममा चौथो शताब्दी (गुप्त काल) का अभिलेख भेटिएका थिए। ती अभिलेख तिरभुक्तीका अधिकारीहरूलाई सम्बोधन गरी लेखिएको पत्र थियो।, तिनै पत्रका आधारमा 'तिरभुक्ती' शब्द निकै पुरानो हो भनेर भन्न सकिन्छ। यो शब्दले नदी नजिकको जमिन वा क्षेत्र जनाउँछ।, तिरभुक्तीभन्दा पहिलेका नाम विदेह र मिथिला प्रयोगको ऐतिहासिक प्रमाण भने हामीसँग छैन। यी नाम सिधै पौराणिक कथासँग जोडिएका छन्।, परापूर्वकालमा 'विदेघ माधव' वा कतैकतै 'विदेघ माथव' पनि भनिने राजाका नामबाट यो सहरलाई 'विदेह' भन्न थालिएको पाइन्छ।, वैदिक कालमा सरस्वती नदी किनार हुँदै विदेघ माथव यस ठाउँमा आउँदा चारैतिर हिलो र दलदल थियो। उनले अग्नि वैश्वानर (आगोका देउता) को सहायताले यहाँको दलदल भू–भाग सुकाए र बस्न लायक बनाएको किम्बदन्ती छ।, किम्बदन्तीअनुसार राजा विदेघले यो ठाउँलाई बसोबासयोग्य बनाउन आफ्नो मुखमै अग्नि देउता लिएर हिँडेका थिए। मुखबाट अग्नि देउता फुत्किने डरले उनी कसैसँग बोल्दैनथे। उनका पुरोहित गौतम ऋषि रहुगणले यो थाहा पाएपछि अग्नि देउतालाई बाहिर निकाल्न ऋगवेदका मन्त्र उच्चारण गर्दै भन्न थाले, 'हे, ज्ञानी अग्नि! तपाईं ज्योतिवान र शक्तिशाली हुनुहुन्छ, बाहिर आउनुहोस्।', गौतम ऋषि रहुगणले यति भन्दा पनि राजा विदेघले मुख खोलेनन्।, गौतम ऋषि पनि आफ्नो हठ कहाँ छाड्थे र!, उनले मन्त्रोचरण गरिरहे।, 'हे, अग्नि! तिम्रो किरण, ज्वाला र प्रकाश चम्किलो छ। हामीलाई आफ्नो शक्ति देखाउनुहोस्।', राजाले तैपनि कुनै प्रतिक्रिया जनाएनन्।, गौतम ऋषिको मन्त्र उच्चारण जारी थियो।, 'हे, नौनीजस्ता अग्नि! हामी तपाईंलाई बोलाउँछौं।', यहाँनिर गौतम ऋषिको मुखबाट निस्केको 'नौनी' शब्दले काम गर्यो। नौनीको नाम सुन्नेबित्तिकै अग्नि देउता राजाको मुखबाट फुत्त बाहिर आए। राजाले आफ्नो मुखमा उनलाई सम्हालेर राख्नै सकेनन्।, लामो समय राजा विदेघको मुखमा कैद अग्नि देउता बाहिर आएपछि उनी आमाबुवाको नियन्त्रणबाट फुत्किएर खेल्न बत्तिएको बालकझैं यत्रतत्र दौडन थाले। उनी दौडिँदै पृथ्वीको पूर्वी किनारसम्म पुगे र त्यहीँबाट आगो लगाउन सुरू गरे।, गौतम ऋषि रहुगण र राजा विदेघ उनलाई पछ्याउँदै गए।, अग्नि देउताको आगोको तापले पृथ्वीका सबै नदी, खोलानाला, तालतलैया सुक्न थाले।, यही क्रममा जसै अग्नि देउता उत्तरी हिमाल हुँदै बग्ने सदानीरा नदी पुगे, उनी ठाउँको ठाउँ टक्क अडिए।, अग्नि देउताले सदानीर नदीमाथि आगो ओकलेनन्।, यो नदी यति पवित्र थियो, पहिले–पहिले ब्राह्मणहरूले समेत तर्न हुँदैन भनिन्थ्यो। उनीहरू तर्थेनन् पनि। यही कारण अग्नि देउताले सदानीर नदीलाई छुने हिम्मत गरेनन्।, त्यति बेला अयोध्या राजधानी भएको कोशल राज्य र विदेह राज्यको सिमानामा बग्ने सदानीर नदीलाई अचेल गण्डकी भनिन्छ। अग्नि देउताले धरि छुन नसकेकाले नदी आसपासको ठूलो क्षेत्र हिलो र दलदलले भरिएको थियो, जहाँ खेतीपाती हुन्थेन। हामीले चर्चा गर्न खोजेको विदेह वा मिथिला पनि यही दलदले क्षेत्रमा पर्थ्यो।, पछि नदीको पूर्वतिर केही ब्राह्मणहरू बसोबास गर्न आए। तिनै ब्राह्मणले यज्ञ गरेर अग्नि देउता बोलाए र अग्निले भूमि स्पर्श गरेपछि यो ठाउँ बसोबास गर्न लायक बन्यो।, विदेह राज्य स्थापनासँग जोडिएको राजा विदेघको यो कथा पुष्टि गर्ने कुनै प्रमाणित इतिहास वा अभिलेख हामीसँग छैन। तर माथि भनेजस्तो परम्परागत रूपमा चलिआएका कथ्य (मिथ) हरूमा इतिहासका अप्रमाणित प्रसंग लुकेका हुन्छन्। अलौकिक रूपमै भए पनि ती कथ्यले ऐतिहासिक अभिलेखमा समेटिन नसकेका घटनाक्रम वर्णन गर्छन्।, यस आधारमा माथिको कथाबाट के आकलन गर्न सकिन्छ भने, मानव बस्ती र खेतीयोग्य जमिन बनाउन मिथिलाका प्राग–प्राचीन पुर्खाहरूले निकै संघर्ष गर्नुपरेको थियो। यहाँ विदेघ राजाले मुखमा आगो बोकेर हिँडेको प्रसंगले त्यति बेलाको दलदले भूमिमा मानव बस्ती बसाउन उनले गरेको कडा परिश्रम जनाउन खोजेको हुनसक्छ। सायद विभिन्न कालखण्डका मानव पुर्खाको यस्तायस्तै संघर्षले नै पृथ्वी बस्नयोग्य भूमि बनेको हो।, किम्बदन्तीमा विदेघ राजा र अग्नि देउताको अर्को प्रसंग पनि छ।, एकदिन राजा विदेघले अग्नि देउतासँग भेट हुँदा सोधेछन्, 'म कहाँ बस्न जाऊँ?', उनलाई अग्नि देउताले सदानीर नदीको पूर्वतिर बस्न इसारा गरेछन्।, अग्नि देउताको आज्ञा मानेर राजा विदेघले नदीभन्दा पूर्व बस्ती बसालेको र कालान्तरमा त्यो बस्तीलाई उनकै नाममा 'विदेह' भन्न थालिएको मानिन्छ।, यो किम्बदन्तीमा जसरी 'नदीको पूर्वतिर बस्ती बसाउनू' भनिएको छ, त्यसले सभ्यताको केन्द्र पश्चिमबाट पूर्व सरेको घटनालाई संकेत गरेको हो कि!, विदेहहरूलाई ब्राह्मणवादको प्रतिनिधि मानिन्छ। त्यसैले केही विद्वानहरू राजा विदेघ माथव र ऋषि गौतम रहुगणको कथालाई आर्य सभ्यता पश्चिमबाट पूर्व फैलिएको प्रमाणका रूपमा पनि लिन्छन्।, यति मात्र होइन, अग्नि देउताले इसारा गरेको क्षेत्रमा अहिले पनि विदेघका वंशहरू भेटिन्छन् भन्ने विश्वास गरिन्छ। त्यति बेला ब्राह्मणहरू पूर्वका कोशी, कोशल र विदेहजस्ता ठाउँलाई ज्ञानभूमिका रूपमा मान्थे र तप–जप गर्न आउँथे भन्ने इतिहासले पनि पुष्टि गरेको छ।, यहाँसम्म त विदेह राज्य स्थापनाको कुरा भयो। कथा यतिमै सकिँदैन।, विदेह राज्य स्थापना गरी राजा विदेघ माथव र उनका वंशले यो क्षेत्रमा धेरै धेरै, धेरै नै वर्ष शासन गरे। तर कुनै पनि शासन सदापर्यन्त रहँदैन। विदेघ राजाको शासन पनि चिरस्थायी रहेन।, एकदिन शासनको बागडोर इक्ष्वाकुवंशी राजा निमिको हातमा गयो।, विष्णु पुराणका अनुसार विदेह राज्य आफ्नो हातमा आएपछि निमिले बलियो शासन व्यवस्था कायम होस् भनी महायज्ञ गराउन खोजे। त्यसका लागि उनी आफ्ना कुल पुरोहित महर्षि वशिष्ठलाई डाक्न गए।, वशिष्ठ यस्ता ऋषि थिए जो पृथ्वीदेखि स्वर्ग लोकसम्म आफ्नो इच्छाअनुसार आउजाउ गर्न सक्थे। उनले पटक–पटक स्वर्गमा वैदिक अनुष्ठान र यज्ञ गरी देवराज इन्द्रको मनोकामना पूरा गरेका कथाहरू छन्। स्वर्गका वैद्य अश्विनीकुमारसँग पनि उनले राम्रो मित्रता गाँसेका थिए।, जब राजा निमि महर्षि वशिष्ठलाई डाक्न गए, त्यति बेला वशिष्ठलाई देवराज इन्द्रबाट आफ्नो यज्ञमा सहभागी हुन निम्तो आएको रहेछ। त्यही भएर वशिष्ठले निमिलाई भनेछन्, 'राजा निमि, मैले पहिले नै देवराज इन्द्रलाई उनको यज्ञमा आउने बाचा गरिसकेको छु। म त्यहाँको यज्ञ सकेर तपाईंकहाँ आउनेछु। त्यतिञ्जेल मलाई कुर्नुस्।', निमिले वशिष्ठको जवाफमा कुनै प्रतिक्रिया जनाएनन्। वशिष्ठले यसलाई उनको स्वीकृतिका रूपमा बुझे।, देवराज इन्द्रको यज्ञ करिब पाँच सय वर्ष चल्यो। राजा निमिले यति लामो समय वशिष्ठ ऋषिलाई कुर्न सकेनन्। त्यो अवधिमा त निमिको महायज्ञ गर्ने समय नै घर्किसक्थ्यो। त्यही भएर उनले वशिष्ठको अनुपस्थितिमा अर्का पुरोहित गौतम ऋषिमार्फत यज्ञ सम्पन्न गराए।, इन्द्रको देवलोकमा यज्ञ सकेर महर्षि वशिष्ठ जसै पृथ्वी लोकमा फर्के, उनी सरासर राजा निमिकहाँ गए।, उनी पुग्दा निमि आफ्नो महायज्ञको मध्यमा पुगिसकेका थिए।, महायज्ञ निम्ति आफूलाई कुर्नू भन्दाभन्दै निमिले आज्ञा पालना नगरेको देखेर वशिष्ठ रिसले चुर भए।, 'निमि, तिमी निकै घमण्डी रहेछौ। मैले कुर्नू भन्दाभन्दै तिमीले मलाई कुर्न सकेनौ,' वशिष्ठले निमिलाई श्राप दिँदै भने, 'म तिम्रो देह भष्म होस् भनेर श्राप दिन्छु।', वशिष्ठ ऋषिको यही श्रापका कारण निमिको देह भष्म भयो।, राजाको देह भष्म भएकाले नै यो ठाउँलाई 'विदेह' भनिएको हो भन्ने भनाइ पनि छ।, इक्ष्वाकुवंशी राजा निमिपछि उनको वंश चलाउने अरू कोही उत्तराधिकारी थिएनन्। त्यसैले महायज्ञका लागि आएका गौतम ऋषि र उनका सहायक पुरोहित मिलेर निमिको मृत शरीरलाई गंगासागरको पवित्र पानीमा मथेर नयाँ शरीर जन्माए, जो पहिलेभन्दा निकै पराक्रमी र सिद्ध पुरूष बने।, बुवाको शरीरबाट मन्थन गरेर निकालिएकाले पुरोहितहरूले उनको नाउँ 'मिथि' राखिदिए।, मिथिले आफ्नो पराक्रम, ज्ञान र सिद्धीको बलमा विदेह राज्यलाई अझ सुन्दर बनाए। समयक्रममा त्यो सहरलाई मिथिकै नामबाट 'मिथिला' भन्न थालियो।, यसरी पुरानो बस्ती बढाएर नयाँ सहर बसालेकाले मिथिलाई सबैले सम्मानपूर्वक 'जनक' भन्न थालेको कहावत छ। त्यसैले जनक कुनै नाम नभई एउटा पद हो। जनकको राज्यमा गार्गी, यज्ञवल्क्य, अष्टावक्र लगायत विद्वानको बोलबाला थियो।, सीताको पिताका रूपमा प्रसिद्ध राजा जनक मिथि वंशकै तेइसौं राजा सीरध्वज जनक हुन्। उनलाई सम्मान गरेर 'महाजनक' पनि भनिन्थ्यो।, सीता कसरी जनककी छोरी भइन् भन्ने कथा हामी धेरैले सुन्दै–पढ्दै आएका छौं। राजा सीरध्वज उर्फ महाजनकले यज्ञको निम्ति जमिन खन्ने क्रममा एउटी नवजात बालिका भेटेको र आफ्नी छोरीका रूपमा दरबार भित्र्याएको प्रसंग पौराणिक कथाहरूमा छ।, सीतामा सानैदेखि विलक्षण प्रतिभा थियो। भगवान शिवले हजारौं वर्षपहिले मिथिलामा आफ्नो शिव–धनुष छाडेका थिए। त्यो धनुष यति गह्रुंगो थियो, संसारका महाबलशालीहरूले पनि डेग हल्लाउन सक्थेनन्। एक ठाउँबाट अर्को ठाउँ लग्न सयौं पहलवान भारदारहरू खटाउनुपर्थ्यो। सीताले भने सानै उमेरमा पूजाकोठा सरसफाइ गर्दा त्यो शिव–धनुष पनि उचालेर सफा गर्ने गर्थिन्।, सीताले यति सजिलै धनुष उचालेको देखेपछि सीरध्वज जनकले संकल्प गरे, 'जसले यो धनुष उचालेर ताँदो चढाउन सक्छ, उसैसँग मेरी छोरीको विवाह गरिदिन्छु।', यही शिव–धनुष अयोध्याका राजकुमार रामले उठाएर ताँदो चढाउन खोज्दा धनुष नै भाँच्चिएको र उनैसँग सीताको विवाह भएको प्रसंग हामीले रामायणमा पढेका छौं, सुनेका छौं।, पौराणिक कथा रामायणले सीताको जन्मभूमि मानेको विदेह वा मिथिला राज्य पछि कुनै प्राकृतिक प्रकोप वा युद्धका कारण विलिन भएको हुनसक्छ। यसको कुनै स्पष्ट जानकारी पाइन्न।, समयक्रममा पौराणिकबाट ऐतिहासिक कालसम्म आइपुग्दा विदेह वा मिथिला राज्य तिरभुक्ति अर्थात् तिरहुतका नामले प्रसिद्ध भयो। एघारौं शताब्दीमा तिरहुत राज्यको राजधानी सिमरौनगढ रहेको इतिहास छ। तर हामीसँग उपलब्ध ऐतिहासिक अभिलेखहरूले चिनेको सिमरौनगढको कथा पौराणिक राम–सीता वा जनकसँग नभई आफ्नो छुट्टै इतिहाससँग जोडिन्छ।, इतिहास हेर्ने हो भने सिमरौनगढमा कर्नाटवंशीय राजाहरूले एघारौंदेखि चौधौं शताब्दीसम्म शासन गरेका थिए। दिल्लीका मुगलहरूको आक्रमणपछि यो राज्य तहसनहस भएको थियो।, पुराण र इतिहासको बीचमा एउटा अर्को घटना भयो।, कुरा आजभन्दा करिब तीन सय वर्षअगाडिको हो — सत्रौं वा अठारौं शताब्दीको। रामानन्दी सम्प्रदायका व्यक्तिहरू पौराणिक कालको मिथिला खोजीमा लागे।, पुराण पढेका र पुराण वाचन गर्दै हुर्केका रामानन्दी सम्प्रदायका व्यक्तिहरूको दिमाग र मन्त्रमा राजा जनकको मिथिला राज्य त थियो, तर त्यो राज्य कहाँ छ भनेर उनीहरूलाई थाहा थिएन। उनीहरूले राम राज्य अयोध्या भारतमा फेला पारिसकेका थिए। अब उनीहरू सीताको भूमि जनकपुर फेला पार्न आतुर थिए।, खोज्दै खोज्दै जाँदा अहिले जहाँ जनकपुर छ, त्यही ठाउँ प्राचीन मिथिलाको राजधानी जनकपुरधाम हो भनेर उनीहरूले औंल्याए।, रामानन्दीहरूको खोज ऐतिहासिक तथ्यमा आधारित थिएन। उनीहरूले आफ्नो सपना र कल्पनाका तार जोड्दै जनकपुरधाम नै प्राचीन मिथिला हो भनेका थिए। त्यसैले मिथिला राज्य यही हो भनेर इतिहासकारहरूले यकिनसाथ भन्न सकेका छैनन्।, बरू मिथिला क्षेत्रमै पर्ने र रामानन्दीहरूले जनकपुर फेला पार्नुभन्दा पाँच–छ सय वर्षअघि नै राज्यको इतिहाससहित भेटिने तिरहुतको राजधानी सिमरौनगढ नै पौराणिक मिथिला राज्य हुनसक्ने इतिहासकारहरूको मत छ। यसै आधारमा सिमरौनगढ र जनकपुरको सम्बन्ध पहिल्याउन नयाँ शिराबाट खोजीको विकल्प उनीहरूले दिएका छन्।, सिमरौनगढमा एघारौं–बाह्रौं शताब्दीतिरका दरबारका भग्नावशेष अझै छन्। ती भग्नावशेष संरक्षणको पर्खाइमा छन्।, सिमरौनगढका यिनै भग्नावशेषमुनि प्राचीन मिथिला राज्यको इतिहास दफन हुनसक्छ। यसलाई खोतल्ने हो भने मिथिलाका रहस्य सुल्झिएलान् कि!, अर्को उपाय पनि छ — बृहत् विष्णु पुराणका अनुसार विदेह वा मिथिला राज्य कौशिकी नदीबाट गण्डकीतिर ९६ कोश लम्बाइमा छ। यसको चौडाइ गण्डकीबाट हिमालय क्षेत्रतिर ६४ कोशमा छ। यसको राजधानी भारतको वैशालीबाट ३५ माइल छ।, पौराणिक ग्रन्थहरूले बताउने यस्ता मिथका सूत्र पछ्याउँदै जाने हो भने सायद हामीलाई मिथिलाका रहस्य सुल्झाउन मद्दत पुग्ला!, हाम्रो यो कथा श्रृंखलाले मिथिला राज्यको रहस्य सुल्झाउने काम गर्दैन। त्यो हाम्रो क्षमताभन्दा बाहिरको कुरा हो। बरू मिथिला क्षेत्रसँग सम्बन्धित कथा, सांस्कृतिक गतिविधि र त्यहाँको समाज के–कस्तो छ भनेर विगतसँग दाँजेर हेर्ने प्रयास गर्छ।, आजबाट हामी 'मिथिलाक कथासभ' अर्थात् मिथिलाका कथाहरूको शृंखला सुरू गर्दैछौं, जुन एकदिन बिराएर (साताको तीनवटा) प्रकाशित हुनेछ। यो शृंखलामा तपाईंहरूले सिमरौनगढ र जनकपुरसँग जोडिएका एक दर्जनभन्दा बढी कथा पढ्न पाउनुहुनेछ।, कथा शृंखलाको सुरूआत मंगलबार सिमरौनगढबाट हुनेछ।, यी पनि पढ्नुहोस्:, जनकपुरको बिहे त भव्य हुँदो रहेछ!, जनकपुर, आई एम कमिङ,
इतिहास र मिथकबीच रहेको मिथिला राज्यको खोजी |
रासस भूकम्पले क्षतिग्रस्त बनाएका विश्व सम्पदामा सूचीकृत हनुमानढोका दरबार क्षेत्रका ३८ वटा सम्पदाको पुनःनिर्माण सम्पन्न भएको छ। विसं २०७२ वैशाख १२ गते गएको भूकम्पले क्षतिग्रस्त ७५ सम्पदामध्ये ३८ वटाको पुनःनिर्माण सम्पन्न भएको छ भने १४ वटाको पुनःनिर्माण जारी रहेको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ। , सङ्ख्यात्मक रुपमा पुनः निर्माण सम्पन्न भएका सम्पदा सङ्ख्या कम भन्दै केही निर्माणको काम सकेर हस्तान्तरण हुन बाँकी रहेको अड्डाका प्रमुख सन्दीप खनालले जानकारी दिए।, हाल पुनः निर्माणको काम भइरहेका सम्पदाहरु आगामी डेढ वर्षमा पूरा गर्ने लक्ष्यका साथ काम भइरहेको उनको भनाइ छ। दरबार क्षेत्रमा रहेका ९५ सम्पदामध्ये भूकम्पमा ७५ वटा सम्पदामा क्षति पुगेको थियो। , हनुमान ढोकाको दक्षिणतर्फ रहेको ऐतिहासिक नौ तले दरबार र उक्त दरबारसँगै रहेका वसन्तपुर टावर, ललितपुर टावर, कीर्तिपुर टावर र भक्तपुर टावर चीन सरकारले पुनःनिर्माण गरिसकेको छ भने हस्तान्तरण हुन बाँकी छ। , साथै काष्ठमण्डप, नाटेश्वर, पञ्चमुखी हनुमान, तारिणीदेवी मन्दिर, महादेव मन्दिर पहिलो र दोस्रो, लक्ष्मीनारायण मन्दिर, कागेश्वरी मन्दिर नागरा वंशगोपाल, श्वेत भैरव, सिल्यान सत्तल, गद्धी बैठक, ढुकुटी चोक, तलेजु मन्दिर नजिकैको सानो मन्दिर, तलाजु टेराकोटा तोरण, प्रताप मल्लको सालिक, कणेल चोकको पुनः निर्माण पनि सकिएको छ। ऐतिहासिक गद्दी बैठक अमेरिकी सरकारको सहयोगमा पुनःनिर्माण सम्पन्न भइ सर्वसाधारणका लागि खुला गरिएको छ। , हाल पुनःनिर्माण भइरहेका सम्पदाको काम पूरा नभइ अन्य काम सुरू गर्न नमिल्ने र केहीको हकमा स्थानीयले रोकेकाले पुनःनिर्माणको काम अघि बढाउन नसकिएको प्रमुख खनालले जानकारी दिए।, काम सुरू हुन नसेका २३ सम्पदामा मोहनचोक, सुन्दरीचोकसहित यस चोकचित्र रहेका अन्य केही सम्पदा छन्। ‘माजुदेगअघि कामदेव मन्दिर छ, माजुदेगको पुनःनिर्माण सकिएपछि कामदेव मन्दिरको पुनःनिर्माण सुरु हुन्छ’, उनले भने।, त्यसैगरी आगम्छे घरको पुनःनिर्माण काम सुरु हुन सकेको छैन भने उक्त सम्पदाको काम नसकी मोहन चोक र सुन्दरी चोकको काम अघि बढाउन नसकिने उनको भनाइ छ। उक्त क्षेत्रमा रहेका कालिका मन्दिर र लक्ष्मीनारायण सत्तलको काम स्थानीयको अवरोधका कारण रोकिएको हो। , यस क्षेत्रको सम्पदा पुनःनिर्माण पुरातत्व विभाग, चीन सरकार, जापानी सहयोग नियोग (जाइका), बागमती प्रदेश पूर्वाधार विकास कार्यक्रम, काठमाडौँ महानगरपालिका, केही स्थानीय गुठीमार्फत् काम भइरहेको छ। , प्रताप मल्लले विसं १७२९ मा दरबारको मुख्य प्रवेशद्वार नजिकै हनुमानको मूर्ति स्थापना गराएपछि हनुमानढोका दरबार नाम रहन गएको हो। हनुमानढोका दरबारको सबैभन्दा पुरानो भाग विसं १६२० तिर तत्कालीन राजा महेन्द्र मल्लले बनाएको मूलचोकलाई मानिन्छ। , सुन्दरीचोक, नासलचोक, भण्डारखाल बगैँचा, हनुमानको मूर्ति, तलेजु मन्दिर, जगन्नाथ मन्दिर, काल भौरव, काष्ठमण्डपलगायत वरपरका अन्य सम्पदालाई पनि यहाँको महत्वपूर्ण सम्पदा मानिन्छ । यस स्थानमा विभिन्न ११ वटा महत्वपूर्ण चोक छन् । , महत्वपूर्ण सम्पदाका रूपमा रहेको प्रसिद्ध कुमारी घर विसं १८१३ मा कान्तिपुरका अन्तिम मल्ल राजा जयप्रकाश मल्लले निर्माण गरेका हुन् । कुल ४४ रोपनी क्षेत्रफलमा फैलिएको वसन्तपुर दरबार क्षेत्र सन् १९७९ मा विश्व सम्पदा सूचीमा समावेश गरिएको थियो।,
वसन्तपुरका ३८ सम्पदाको पुनःनिर्माण सकियो |
रासस म्याग्दीको मङ्गला गाउँपालिका-२ काफलगौरमा सोमबार दिउँसो भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ।, थाइवाङबाट बेनीतर्फ आउँदै गरेको ग १ ज ६९३८ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा सात जना घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।, प्रहरी निरीक्षक राजन ढकालले मङ्गला-१ की ६० वर्षीया फौमाया गर्बुजाको उपचारको क्रममा बेनी अस्पतालमा मृत्यु भएको जानकारी दिए।, उनकाअनुसार घाइते मङ्गला–२ की ३४ वर्षीया सन्तु केसी, १० वर्षीया सिवानी कसी र पाँच वर्षीया रिवान केसीलाई थप उपचारका लागि पोखरा पठाइएको छ।, मङ्गला-१ की १५ वर्षीया बबिना परियार उपचारपछि घर पठाइएको छ भने मङ्गला-२ की २२ वर्षीया विपना कार्की, मङ्गला-१ का ३८ वर्षीय तेजबहादुर गर्बुजा, मङ्गला-२ का ५० वर्षीय भूमिकला नेपालीको बेनी अस्पतालमा उपचार भइरहेको छ।, ओरालो सडकमा जिप पल्टिएर दुर्घटना भएको थियो। जिप चालकलाई नियन्त्रणमा लिएर छानबिन सुरु गरिएको प्रहरी निरीक्षक ढकालले बताए।,
म्याग्दीमा जिप दुर्घटना हुँदा एकको मृत्यु, ७ जना घाइते |
सेतोपाटी संवाददाता चोभारको पुलबाट बागमती नदीमा कार खस्दा बेपत्ता भएका पुरूषको शव फेला परेको छ। , बिहीबार दिउँसो कार दुर्घटनास्थल भन्दा अन्दाजी सय मिटर तल पुरूषको शव फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी प्रविण पोखरेलले जानकारी दिए। , अहिले शवलाई पानीबाट निकालेर मुचुल्काको काम गरिरहेको छ। , सोमबार साँझ बागमती किनारमा बा ५ च ५६५४ नम्बरको कार खसेको थियो। सामाजिक सञ्जालमा उक्त गाडी दुर्घटना भएको सिसिटिभी फुटेज पनि बाहिरिएको थियो। , उक्त कार खोकना फास्ट ट्र्याक तर्फबाट मुख्य सडकमा निस्किने क्रममा पुलमाथिबाट बागमती नदी किनारमा खसेको देखिन्छ। , कारमा दक्षिणकाली नगरपालिका-१ चाल्नाखेल बस्ने ४७ वर्षीय राजकुमार खत्री र उनकी श्रीमती अम्बिका लामिछाने खत्री सवार थिए। , दुर्घटना भएपछि स्थानीयले देखेर कारमा रहेकी अम्बिकाको उद्धार गरी बल्खुस्थित बयोधा अस्पताल पुर्याएको थियो। उनलाई अहिले थप उपचारको लागि ट्रमा सेन्टरमा पठाएको छ। , राजकुमार भने बेपत्ता थिए। , बेपत्ता भएका राजकुमारको खोजी गर्न प्रहरीको विपद् व्यवस्थापन, सशस्त्र प्रहरी र प्रहरी प्रभाग भैसेपाटीको टोली खटिएको थियो। प्रहरीले र्याफ्टिङ, गोताखोरले समेत खोजी गरी शव फेला पारेको हो। ,
चोभारमा कार खसेको ३ दिनपछि भेटियो बेपत्ता पुरूषको शव |
सबिना श्रेष्ठ चैत्य वा स्तुपको विशेषता के हो भने यो 'पजल' खेलजस्तै हुन्छ।, जसरी पजललाई खोलखाल पारेर जोडजाड गर्न मिल्छ, यसलाई पनि मिल्छ। जोड्दा नियम भने यत्ति हो, यसका चारैतिरका फरक भगवानहरू कुन-कुन दिशामा राख्नुपर्ने हो, ठीकठीक ठाउँ राख्नुपर्छ।, तीस वर्षअघि यसैगरी पाटन ओमबहालको एउटा चैत्य जीर्णोद्धार भएको थियो।, अस्ट्रेलियाका कलाकार एवं वास्तुविद् रोबर्ट पावेलले जीर्णोद्धार क्रममा उक्त चैत्यको स्केच बनाए। त्यसपछि यो चैत्यको चर्चा विश्वभर फैलियो।, यसमा कुँदिएका बुट्टा र कला दक्षतालाई संसारले प्रशंसा गर्दै 'मास्टरपिस' भन्यो। कतै चैत्यको उदाहरण दिनुपर्दा वा चैत्यको किताब लेखिँदा यो स्केच नछुटाई समेट्न थालियो।, संसारले स्केचमा देख्दै महत्व बुझेको यो चैत्यलाई ओमबहालका बासिन्दाले भने बल्ल चिन्दै छन्। यसको महत्त्व अझै गाढा बनाउन उनीहरू ३० वर्षपछाडि फर्किन चाहन्छन्, जति बेला यो चैत्य जीर्णोद्धार गर्दा संघर्ष भएको थियो।, जसरी यो चैत्य कसरी बन्यो भन्ने आफैंमा इतिहास हो, त्यस बेला गर्नुपरेको संघर्ष पनि महत्त्वपूर्ण ऐतिहासिक दस्तावेज हो।, त्यसैले हालै उनीहरूले पावेलले बनाएको चैत्यको स्केचलाई कभर डिजाइन बनाएर अंग्रेजी किताब 'पाटन–ओमबहाल' सार्वजनिक गरेका छन्।, जर्मन सम्पदाविद निल्स गुत्सो, नेपालका संस्कृति अनुसन्धाता नुतनधर शर्मा र कलाकार विजय वासुकलाले लेखेको उक्त किताबमा यो चैत्य र यहाँका मन्दिर पुनर्निर्माण गर्दा के–कस्ता समस्या आए, के–कस्ता विधि-विधान अपनाइए भनेर विस्तृत विवरण समेटिएको छ।, यो चैत्य जति चर्चित छ, ३० वर्षअघिको घटना उत्तिकै रोचक छ।, सन् १९९२–९३ तिर ओमबहालको यो चैत्य जीर्णोद्धार गर्ने कुरा उठ्दा निकै बहस भएको थियो। त्यस बेला चैत्यको आधा भाग जमिनको सतहमा भासिएको थियो। लिच्छविकालीन चैत्यमा माटोका तहहरू समय क्रममा थपिँदै जाँदा यसको जग तल परेको थियो।, जर्मन प्रोजेक्टमार्फत ओमबहाल जीर्णोद्धार क्रममा यो चैत्य पनि बनाउने कुरा उठ्यो। यति सुन्दर चैत्यलाई बहालवासीले संरक्षण गर्नु त कहाँ हो, विदेशी प्रोजेक्टले बनाइदिन्छु भन्दा पनि मानेनन्।, 'यो त अशोक महाराजले बनाउनुभएको ८४ हजार चैत्यमध्ये एक हो। यसलाई चलाउन हुँदैन, माथि उठाउन पनि हुँदैन। यसलाई उठायो भने पाप लाग्छ भन्ने कुरा आयो,' जर्मन प्रोजेक्टमा अनुसन्धाताका रूपमा जोडिएका पाटनका नुतनधर शर्माले भने, 'तर यो अशोक महाराजले बनाएको चैत्य होइन। धेरैपछि लिच्छविकालमा बनेको चैत्य हो। त्यसो भनेर उहाँहरूलाई मनाउन पनि गाह्रो भयो।', त्यसपछि ठूला पण्डित, बज्राचार्यहरू, बहालका संघको मान्छे, वडाध्यक्ष लगायत बहाल र चैत्यका सरोकारवालासँग लामो छलफल चल्यो। बनाउने र बनाउन हुन्न भन्ने टोली दुईतिर बाँडिए। अन्तिममा बहालको संघले यसलाई बनाउने भनेर अन्तिम निष्कर्ष निकाल्यो।, उनीहरूले बनाउन हुन्न भन्नेहरूलाई मनाउन संकल्प गरे – क्षमापूजा गर्ने, अन्य जे जति पूजा र विधि-विधान छ पूरा गर्ने र लापरबाही नगर्ने।, त्योभन्दा ठूलो संकल्प नुतनधर आफैंले गर्नुपरेको थियो।, 'बहालका मान्छे यतिसम्म डराउनुभएको थियो, उहाँहरूले यो चैत्य उठाएर माथि ल्याउँदा लाग्ने पापको भागिदार आफू नहुने भन्नुभयो। केही भए त्यसको जिम्मेवारी मैले लिनुपर्छ भनेर मलाई संकल्प गराउनुभयो,' उनले भने, 'अनि मैले चैत्य भत्काएर उठाउँदा आफूले जानी-नजानी गल्ती गरे भगवानले क्षमा गर्नुहोला भनेर संकल्प गरेँ। यसबाट हुने पाप र परिणामको भागिदार म हुन्छु भनेँ। अनि बल्ल उहाँहरू मान्नुभयो।', 'त्यसरी संकल्प लिएको परिणाम केही देखियो कि देखिएन?', हाम्रो प्रश्नमा नुतनधरले भने, 'कस्तो हुँदो रहेछ भने त्यस्ता कुरा मान्दिनँ भन्दा पनि दिमागमा ती कुरा खेलिरहने रहेछ। त्यही बेहोसीमा वर्षदिनमै मेरो खुट्टा भाँचियो। तर राम्रो परिणाम पनि भयो। त्यही चैत्यका कारण मैले बुद्ध धर्ममा विद्यावारिधि गरेँ। यहाँको चैत्यले मलाई यति मोहित पार्यो, यसबारे अझ बढी जान्न बुद्धिजम् बुझ्न मन लाग्यो।', नुतनधर आफैंले संकल्प गरेर जीर्णोद्धार गरेको यो चैत्य कसरी बन्यो र यसलाई बनाउन के–कस्ता विधि अपनाइयो भन्ने कथा चाखलाग्दो छ। त्यसअघि संसारलाई मोहित पारेको र नुतनधरलाई बुद्ध धर्ममा विद्यावारिधि गर्न प्रेरित गरेको यस चैत्यको विशेषताबारे चर्चा गरौं।, यो चैत्य अशोक महाराजले बनाएको भनिए पनि लिच्छविकालमा, सातौं शताब्दीतिर बनेको हो। यसको कुनै लिखित शिलालेख वा दस्तावेज छैन। तर यस्तै शैलीमा बनेका अरू पाँच–छ चैत्य त्यही समयका हुन्। त्यसैका आधारमा यसलाई सातौं शताब्दीको हुनसक्ने अनुमान गरिएको छ।, दुई तहमा कुँदिएको यस चैत्यको तल्लो र माथिल्लो भाग फरक कलाकारले बनाएको पनि अनुमान छ। किनभने माथिल्लो कला र तलको कलामा कुँदिएको गहिराइ फरक छ।, 'यो दुइटा फरक चैत्यको भाग जोडेर बनाइएको पनि हुनसक्छ,' नुतनधरले भने, 'दुवै मिलाएर राख्न मिल्नेजस्तो देखेर कलाकारले जोडेर राख्यो होला। तलको चैत्यमा तोरण पनि छ जुन पहिला ठूलो हुनसक्छ। माथिको भगवानको कलात्मक बुद्धहरू नछोपिऊन् भनेर चारैतिर तोरणका माथिल्लो भाग काटेर मिलाएजस्तो देखिन्छ।', तुलना गर्दा तल्लोभन्दा माथिल्लो तहका बुट्टा मिहीन र आकर्षक ढंगले कुँदिएका छन्। त्यही भएर माथिल्लो भाग दक्ष कलाकार र तलको उनका शिष्यले बनाएको हुनसक्ने अनुमान छ। माथिल्लोमा चारैतिर बौरोचन बुद्धहरू छन् भने तल्लोमा चार फरक बुद्ध; रत्नसम्भव, अमिताभ, अमोघसिद्धि र अक्षोभ्य छन्।, यो चैत्यको गुणस्तर वर्णन गर्दै नुतनधर भन्छन्, 'यति सुन्दर चैत्य सम्भवतः अन्त कतै छैन। यसको तोरणको क्षपु (रक्षक) लाई यसो हेर्ने हो भने अहिले नै पिलिक्क आँखा खोल्लाजस्तो देखिन्छ। भगवान उठेर अहिले नै आशीर्वाद दिनुहोला जस्तो लाग्छ। त्यति जीवन्त छ यो चैत्य। प्रायः चैत्यको डोम मिलाउन गाह्रो हुन्छ। यसमा भने जुनै ठाउँबाट हेर्नुस्, मिलेको छ।', उनले अगाडि भने, 'यो चैत्य बनाउँदा कलाकारले कलामा कुनै सम्झौता गरेको छैन। नजिकै बसेर यो चैत्य हेरेँ भने म त घन्टौं हेरिरहन सक्छु। नेपालको यो रत्न नै हो भन्दा फरक पर्दैन।', अब चर्चा गरौं यो चैत्य जीर्णोद्धारको कथा।, सन् १९९३ मे १७ मा यो चैत्य खोलेर माथि उठाउने काम सुरू भयो। हामीले पूजा गर्ने मन्दिर, मूर्तिमा जस्तै चैत्यमा भगवान प्रवेश गराएर जीवित बनाइएको हुन्छ। त्यसैले चैत्यमा काम सुरू गर्नुअघि भगवानको जीव सानुपर्ने थियो। जीवित भगवानको जीव निकालेर कलशमा राख्न पुरोहितहरूले होमसँगै धेरै संख्यामा जप गरे। एकातिर होम चल्दै थियो, उता सेतो धागोबाट भगवानको जीव कलशमा जपमार्फत तानिँदै थियो।, जीवन्यास वा भगवानको जीव कलशमा सारिएपछि त्यसलाई बहालको एउटा कोठामा सुरक्षित राखेर चैत्य मानेर पूजा गर्न थालियो। यता चैत्य त निर्जीव भयो, यसलाई अब खोलखाल पारेर काम गर्न सकिने भयो, तर पापको डर सकिएको थिएन। चैत्य खोल्नुअघि पुरानो विधिअनुसार उनीहरूले गाईको सहायता लिए। गाईको पुच्छरलाई चैत्यको टुप्पोमा डोरीले बाँधिदिए। अनि गाईलाई अलि पर धपाए।, 'त्यसरी धपाएपछि चैत्यमा अलिकति बल पुग्ने भयो। चैत्यलाई हामीले होइन, गाईले बिगारेको हो भनेर आफू पापबाट मुक्त हुन यस्तो विधि अपनाइयो,' नुतनधरले भने, 'अनि बल्ल अन्य कलाकारले आफ्नो ज्यावल पूजा गरेर काम सुरू गरे।', तीन दिनसम्ममा चैत्य खोलखाल गरेर चैत्यको सतहलाई जमिनको सतहमा मिल्नेगरी उठाइसकिएको थियो। त्यसअघि उनीहरूले चैत्यको जगमा रत्नन्यास पूजा गरे, जसमा जगमा पैसा राख्ने, तासको झिलिमिली लुगा लगाउने, चैत्य खोल्दा भेटिएका सामग्री पनि त्यसैभित्र राख्ने काम भयो।, मे २६ सम्म चैत्यको पूरा स्वरूप तयार भइसकेको थियो। तल भासिएको जगको स्वरूप माथि निकालिसकेपछि अब पूर्ण चैत्यको स्वरूप सबैले देख्न पाए। चैत्य झनै खुलेर आयो। त्यसपछि उनीहरूले दसकर्म पूजा गरे। कलशमा सारिएको भगवानको जीवलाई पुनः चैत्यमा सार्दै दसकर्म पूजा भयो। त्यसमा भगवानको नामाकरण गर्ने, पास्नी, जातकरण, ब्रतबन्ध वा इही लगायत सबै कर्म गर्नुपर्छ। मान्छेजसरी चैत्य बालकबाट वयस्क हुँदासम्म गर्ने गतिविधिलाई यजमानले अभिनयजस्तो गरेर देखाए।, चैत्य भत्काएर जोडेपछि सेतो कपडाले शवलाई छोपेजसरी राखिएको थियो। त्यसमा जीव प्रवेश गराएपछि बल्ल सबै विधान पूरा भयो। अनि देवताको नामाकरण गरियो। , 'हामीले देवताको नाम बैरोचन राखेका थियौं। किनभने यसको पहिलो तहमा कुँदिएको भगवानको नाम बैरोचन थियो,' नुतनधरले भने।, त्यति बेला चैत्य मात्र होइन, बहालको मूल मन्दिर क्वापाछेँ (बुद्ध भगवान वा कुनै बोधिसत्वको मूर्ति राखेर दैनिक पूजा गर्ने ठाउँ) पनि जीर्णोद्धार गरेका थिए।, मन्दिरमा पाइएको शिलालेखअनुसार सन् १५९६ मा यो मन्दिरको छाना जीर्णोद्धार भएको थियो। सन् १६३४ मा मन्दिरको ढोकामा बुट्टेदार तोरण राखिएको थियो जुन राजा सिद्धिनरसिंह मल्लको समयको हो।, 'जनश्रुतिअनुसार त्यति बेला यो बहालका मान्छे अन्तै बसाइसराइ गरेका थिए। बहाल रित्तो भएपछि बाहिरबाट मान्छेहरू ल्याएर राजाले उनीहरूलाई यहाँ बसोबास गराएका थिए। ती मान्छे सायद साँखुतिरबाट आएका थिए,' किताब 'पाटन–ओमबहाल' मा यस्ता विस्तृत कथा र विवरण धेरै समेटिएका छन्।, सन् १९९३ मा जब जर्मनहरूले यसलाई जीर्णोद्धार गर्न खोजे, उनीहरूले मन्दिर माटाको गारोले बनाइएको भेटाए। गजुरधरी माटोको गारोले अड्याएर राखिएको थियो। यसलाई जीर्णोद्धार गर्दा पुरानै शैलीमा पुरानै सामग्रीलाई प्राथमिकता दिएर बनाइयो। त्यसरी बनाउँदा पनि बहालका धेरैले चित्त नबुझाएको नुतनधर बताउँछन्।, 'उहाँहरूले त सिमेन्टले बनाउनुपर्छ, यस्तो माटाको कतिन्जेल टिक्छ भन्नुहुन्थ्यो। २०७२ सालको भुइँचालोमा पनि मन्दिरमा केही भएन। ३० वर्षअघि त्यति धेरै गाली गरेको भए पनि अहिले त्यसको नतिजा राम्रै देखियो भनेर उहाँहरू खुसी हुनुहुन्छ,' उनले भने।, यो चैत्य जति संसारभर लोकप्रिय भयो, यसले बहालको प्रचार पनि गरायो। त्यही कारण बहालका मान्छेहरूले 'पाटन–ओमबहाल' किताब निकाल्न पहल गरेको उनी बताउँछन्।, यो किताब विशेषगरी चार खण्डमा बाँडिएको छ।, पहिलोमा, बहाल र चैत्य जीर्णोद्धारको विधि-विधान छ। त्यसपछि नेपालमा के–कस्ता चैत्य छन् भन्ने विवरण, बहालको इतिहास र बहालमा भेटिएका शिलालेखको अभिलेख छ। अनि अन्तिममा बहालको संघ कसरी चलिरहेको छ, त्यहाँ कति जनसंख्या छ, कति घर नयाँ, कति पुराना छन् भनेर विस्तृत विवरण छ। मन्दिर र चैत्य बनाउन खटिएका मान्छे र पूजारी लगायत सबैको विवरण पनि किताबमा छ।, फोटोग्राफी र वास्तु डिजाइनसहितको नक्सा पनि किताबमा समेटिएकाले भविष्यमा यहाँको मन्दिर वा चैत्य भत्किएर निर्माण गर्नुपर्यो भने यही किताब हेर्दा पुग्छ।, '३० वर्षअघि हामीले कसरी यहाँको चैत्य र बहालको मन्दिर जीर्णोद्धार गरेका थियौं भनेर भविष्यका पुस्ता र अनुसन्धातालाई यो किताब पढ्ने महत्वपूर्ण सामग्री हो,' नुतनधरले भने।, एउटा समय यस्तो थियो, मन्दिर वा कुनै सम्पदा कसरी निर्माण वा पुनर्निर्माण गरियो भनेर अभिलेख राख्न 'थ्यासफू' लेख्ने चलन थियो। नेपाली कागजमा हातले लेखिएका ती ग्रन्थ (थ्यासफू) मा कुन संरचना कसरी बनाउने भनेर सचित्र ढाँचा वर्णन गरिएको हुन्थ्यो। ओमबहालको मन्दिर र चैत्यको सचित्र वर्णन भएको यो किताब भविष्यका लागि त्यस्तै थ्यासफू हो भन्दा फरक पर्दैन।,
मान्छेहरूले नसकेर गाईलाई भत्काउन लगाएको एउटा चैत्यको कथा |
सेतोपाटी संवाददाता स्याङ्जामा प्रभु एयरको हेलिकप्टरले बिना अनुमति खेल मैदानमा अवतरण गरेको छ। , बिहीबार दिउँसो साढे २ बजे वालिङ नगरपालिकामा रहेको खेल मैदानमा प्रभु एयरको हेलिकप्टर ल्याण्ड भएको हो। , उक्त खेल मैदानमा वालिङ गोल्डकप जारी थियो। बिहीबार सेमिफाइनलअन्तर्गत क्यामरुनको एभिनियर एफसी र स्थानिय टिम वालिङ एफसी जुनियरबीच प्रतिस्पर्धा भइरहेको थियो। , त्यही खेल भइरहँदा एकाएक हेलिकप्टर ल्याण्ड भएको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिए। , ‘हेलिकप्टरले सुरक्षा निकायलाई कुनै पनि जानकारी गराएको थिएन। सिधै गएर त्यहाँ ल्याण्ड गरेको पायौं,’ उनले भने, ‘पहिले जानकारी गराएर मान्छेहरू क्लियर गराउनुपर्थ्यो। तर कसैको लहडबाजीमा यस्तो काम भएको देखियो। कसैलाई चोट त लागेन तर बिनाअनुमति त्यसरी आउन पाइन्न।’, यसरी एकाएक ल्याण्ड गरे पनि केहीबेर मैदान तनावग्रस्त समेत बनेको थियो। स्थानीयले पाइलट रमेश डंगोलमाथि हातपात समेत गरेका छन्।, यस्तै हेलिकप्टरका एक जना यात्रु सो ठाउँमा ओर्लिएको पनि प्रमुख जिल्ला अधिकारी क्षेत्रीले बताए। ती व्यक्तिमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ। , उक्त हेलिकप्टर पोखराबाट आएर वालिङ पुगेको थियो भने पुन: पोखरामै फर्कियो। , यसरी लापरबाही गरेको भन्दै प्रशासन कार्यालयले नेपाल नागरिक उड्डयन प्राधिकरण पोखरालाई आवश्यक छानबिन तथा कारबाहीको लागि पत्र समेत लेखी पठाएको प्रमुख जिल्ला अधिकारी क्षेत्रीले बताए।,
खेल चलिरहेको फुटबल मैदानमा जब हेलिकप्टर अवतरण भयो…(भिडिओ) |
रासस कम्बोडियास्थित पोइपेट सहरमा रहेको ग्राण्ड डायमण्ड सिटी होटल (क्यासिनो) मा गत पुस १५ गते बिहान आगलागीमा परी ज्यान गुमाएका झापा बिर्तामोडका निराकार पाण्डेको शव शुक्रबार राति नेपाल आइपुग्ने भएको छ।, होटलमा आगलागी हुँदा १२ औं तलाको आफू बस्ने कोठाको झ्यालबाट ज्यान बचाउन हामफाल्दा पाण्डेको ज्यान गएको थियो।, कम्बोडियामा सरकारी पक्षबाट शवको प्रमाणीकरण नहुँदा शव ल्याउन ढिलाइ भएको थियो। तर शव ल्याउने प्रक्रियाका लागि नेपालबाट पाण्डेको आवश्यक कागजात पठाएसँगै कम्बोडियाले प्रमाणीकरण गरेपछि उनको शव शुक्रबार थाइल्यान्ड हुँदै नेपाल ल्याइने बताइएको छ।, निराकारका बुवा अग्नि पाण्डेका अनुसार थाइल्यान्डबाट नेपाल एयरलायन्समा उनको शव नेपाल ल्याइँदैछ । शव शुक्रबार राति साढे दस बजे काठमाडौं आइपुग्ने र राति नै शव झापा ल्याउने तयारी गरिएको नेकपा (एमाले) का बिर्तामोड नगर अध्यक्ष सुवास भट्टराईले जानकारी दिए। नगर अध्यक्ष भट्टराईका अनुसार पाण्डेको शव शनिबार झापा आइपुग्ने भएको छ।, निराकारको मृत्युपछि दुःख व्यक्त गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिटो शव नेपाल ल्याउन सरकारी अधिकारीलाई यसअघि नै निर्देशन दिएका थिए। शव नेपाल ल्याउन सरकारले नै खर्च बेहोर्ने निर्णयसमेत भएको छ। सरकारको निर्णयानुसार सरकारी प्रक्रियाबाटै उनको शव नेपाल ल्याउन लागिएको हो।, शव नेपाल ल्याउन कम्बोडियासमेत हेर्ने थाइल्यान्डस्थित नेपाली दूतावासले आवश्यक समन्वय गरिरहेको छ। दूतावासलाई एनआरएनए कम्बोडियाले सहजीकरण गरिरहेको बताइएको छ।, सम्बन्धित समाचारः, 'होटलमा आगो दन्किरह्यो, भाइलाई ४ घन्टासम्म भिडिओमा आत्मबल दिइराख्यौं, उद्धार भएन' (भिडिओ), आगो लागिरहेको क्यासिनोको १२ तलाबाट लाइभ भिडिओमा छोरालाई भने- बाबा अलवेज लभ्स यू, राम्रो मान्छे बन्नू, , ,
होटल आगलागीमा ज्यान गुमाएका निराकारको शव शुक्रबार राति नेपाल आइपुग्ने |
राजेश घिमिरे देशभरका डाक्टरहरूको पेसागत संगठन नेपाल चिकित्सक संघको नेतृत्व चयनका लागि शुक्रबारबाट मतदान सुरू हुँदैछ। , काठमाडौं उपत्यका बाहिरका शाखाहरूमा शुक्रबार बिहान ९ बजेदेखि मतदान सुरू हुनेछ। शुक्रबार र शनिबार काठमाडौं उपत्यका बाहिरका शाखाहरूमा र उपत्यकाभित्र माघ १९, २० र २१ गते मतदान हुनेछ।, देशभरबाट १२ हजार ८ सय जना चिकित्सकहरू मतदानमा सहभागी हुन पाउने छन्।, संघको नेतृत्वका लागि नेपाली कांग्रेस निकटको प्रजातान्त्रिक समूहबाट डा. अनिलविक्रम कार्की, नेकपा एमाले निकटको पेसागत (प्रगतिशील) समावेशी समूहबाट डा. सन्तोष पौडेल र स्वतन्त्र समूहको नेतृत्व गरेर डा. शिवजीविक्रम सिलवाल चुनावी मैदानमा छन्। , डाक्टर कार्की बिपी मेमोरियल क्यान्सर अस्पतालका सिनियर कन्सल्टेन्ट हुन्। अघिल्लो कार्यकालमा उनी उपाध्यक्षमा निर्वाचित भएका थिए। त्यसअघि उनले संघको काउन्सिल सदस्य र केन्द्रीय सदस्य भएर काम गरेका थिए।, डाक्टर पौडेल राष्ट्रिय ट्रमा सेन्टरका सिनियर कन्सल्टेन्ट, अर्थोपेडिक स्पाइन सर्जन हुन्। उनी राष्ट्रिय स्वास्थ्यकर्मी संघका महासचिवसमेत हुन्। डाक्टर सिलवाल उपराष्ट्रपति नन्दकिशोर पुनका निजी चिकित्सक हुन्।, अध्यक्षका उम्मेदवार डाक्टर अनिलविक्रम कार्कीले अस्पताल तथा स्वास्थ्य संस्थाको सुरक्षाका निम्ति छुट्टै ‘स्वास्थ्य सुरक्षा बल’ बनाउन पहल गर्ने बताएका छन्। स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थालाई सुरक्षित बनाउन छुट्टै सुरक्षा बलको आवश्यक भएको उनले बताए। , शुक्रबारबाट सुरू हुने संघको निर्वाचन प्रचारका क्रममा डा. कार्कीले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन), ऐन २०७९ को शतप्रतिशत कार्यान्वयन गराउने बताए।, ‘म समितिमा रहँदा यो ऐन निर्माण र कार्यान्वयनका लागि धेरै प्रयासहरू गरेँ। अब यसको शतप्रतिशत कार्यान्वयन गरी स्वास्थ्य संस्थालाई सुरक्षित क्षेत्र भएको प्रत्याभूति गराउन नेतृत्वमा जान खोजेको छु,’ डा. कार्कीले सेतोपाटीसँग भने, ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) ऐन २०७९ आए पनि अस्पतालमा तोडफोड, स्वास्थ्यकर्मीमाथि कुटपिटका घटना रोकिएका छैनन्। सुरक्षाका निम्ति छुट्टै स्वास्थ्य सुरक्षा बल बनाउन म पहल गर्नेछु।’, उनले आफू निर्वाचित भए चिकित्सक सेवा आयोगको स्थापना र चिकित्सक ऐनका लागि पहल गर्ने बताए। कार्की नेतृत्वको प्रजातान्त्रिक समूहले चिकित्सकको तलब वृद्धि, वैज्ञानिक ड्युटी-आवर, वर्षमा एक पटक अनिवार्य रूपमा १५ दिन तलबी अनिवार्य भ्रमण बिदाको व्यवस्था, संघीय संरचनाअनुसार सातै प्रदेशमा सुविधासम्पन्न कार्यालय स्थापना गर्ने, लाइसेन्सप्राप्त सबै चिकित्सकको सबै प्रकारका बीमा सरकारले गरिदिने व्यवस्था मिलाउने, चिकित्सक र उनीहरूको परिवारका लागि डेडिकेटेड अस्पताल निर्माणको पहल गर्ने, आवासीय चिकित्सकलाई तलबी सुत्केरी, बिरामी र किरिया बिदाका लागि पहल ग र्नेलगायतका १७ वटा प्रमुख एजेन्डाहरू अघि सारेको छ ।, डा. कार्कीले बिरामीको स्वास्थ्यका लागि दिनरात खटिरहने चिकित्सक आफू बिरामी पर्दा राज्यले समेत बेवास्ता गरेको भन्दै स्वस्थ नेपालका लागि स्वस्थ चिकित्सक अभियान बोकेर नेतृत्वका लागि अघि सरेको बताए। , पेसागत (प्रगतिशील) समूहबाट अध्यक्ष पदको उम्मेदवार बनेका डा. पौडेलले 'सुरक्षित पेसा, खुसी चिकित्सक' को नारा अघि सारेका छन्। उनले एक चिकित्सक, एक स्वास्थ्य संस्था, सबै डाक्टर एक पटक सरकारी डाक्टर, सबै डाक्टरलाई रोजगारीः १० वर्षमा घर र गाडी, वैज्ञानिक ड्यूटी-आवर, अनिवार्य बिदाको व्यवस्था जस्ता एजेन्डा अघि सारेका छन्। , सिलवालले चिकित्सा सेवा आयोग गठन गरेर स्वास्थ्य क्षेत्रका सबै निकायलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउन पहल गर्ने बताएका छन्। उनले चिकित्सक परिवार कल्याणकारी कोषलाई प्राथमिकतामा राखेर स्वास्थ्यकर्मी अस्पताल खोल्न सरकारसमक्ष पहल गर्ने, चिकित्सकहरूको सुरक्षा, तलब, सीप विकास र रोजगारीका लागि पहल गर्ने, मेडिकल अफिसरलाई सरकारले तोकेको न्यूनतम पारिश्रमिक र सेवा सुविधाका लागि पहल गर्ने, स्वास्थ्य बीमा लगायतका एजेन्डा अघि सारेका छन्। , २००७ सालमा स्थापना भएको चिकित्सक संघमा अहिलेसम्म लगातार प्रजातान्त्रिक समूहले नेतृत्व गरिरहेको छ। प्रजातान्त्रिक समूह अहिलेको चुनावमा पनि जित हात पार्दै विरासत जोगाउन चाहन्छ। पेसागत समूह भने संघमा प्रजातान्त्रिक समूहको विरासत भत्काउन लागिपरेको छ। , संघको महासचिवका लागि डा. रक्षा श्रेष्ठ, डा. सन्जीव तिवारी र डा. अमृत भुसालबीच प्रतिस्पर्धा हुँदैछ।, वरिष्ठ उपाध्यक्षमा डा. बद्री रिजाल, उपाध्यक्ष (प्रदेश–१) मा डा. विपेश आचार्य, उपाध्यक्ष (लुम्बिनी) मा डा. नन्दाकुमारी गुरुङ र उपाध्यक्ष (कर्णाली प्रदेश) डा. केशरबहादुर ढकाल, कोषाध्यक्षमा डा. प्रमोद जोशी, सह–कोषाध्यक्षमा डा. विक्रान्त ढकाल र सह–सचिव पदमा डा. लिजन महर्जन निर्विरोध निर्वाचित भइसकेका छन्।,
चिकित्सक संघ अध्यक्षका प्रत्यासीका एजेन्डा–छुट्टै स्वास्थ्य सुरक्षा बल बनाउनेदेखि डाक्टरलाई घर, गाडीसम्म |
रासस फुटबल चलिरहेको स्याङ्जा, वालिङ खेल मैदानमा बिहीबार हेलिकप्टर बसेपछि सिर्जित घटनाको विषयमा छानबिन गरी दोषीमाथि आयोजकले कारबाहीको माग गरेको छ।, खेल चलिरहेका बेला मैदानमा हेलिकप्टर अवतरण गरेपछि खेल हेर्न आएका दर्शकले हेलिकप्टरका पाइलट तथा यात्रुमाथि हातपात गरेका थिए। त्यसपछि अवस्था असामान्य बन्न पुगेको थियो।, स्याङ्जाको वालिङ–८ स्थित खेल मैदानमा आयोजक वालिङ युनाइटेड रातो र एभिनियर फुटबल क्लब क्यामरूनबीच भइरहेको दोस्रो सेमिफाइनलको पहिलो हाफको ३५औं मिनेट आसपासमा खेल मैदानमा हेलिकप्टर अवतरण गरेपछि आक्रोशित दर्शकले हातपात गरेका थिए।, राष्ट्रियस्तरको खेल भइरहेको स्थानमा प्रशासन तथा स्थानीय आयोजक क्लबको अनुमतिबिना मैदानमा बिनासूचना, बिनाजानकारी हेलिकप्टर अवतरण गर्दा दर्शक आक्रोशित भएका हुन्।, हेलिकप्टर अवतरण गर्ने वरिपरि ठाउँहरू हुँदाहुँदै पनि केही व्यक्तिको दबाबमा खेल भइरहेको मैदानमा अवतरण गरी खेलमा अवरोध सिर्जना गर्न खोजिएकाले समस्या उत्पन्न भएको वालिङ युनाइटेड फुटबल क्लबका अध्यक्ष लालबहादुर ज्वारचनले बताए।, 'बिरामी लिएर आएको, बिरामी लिन आएको वा हेलिकप्टरमा कुनै समस्या आएमा अकस्मात अवतरण गर्नुपर्थ्यो। त्यस्तो आपतकालीन कुरा सबैले बुझ्नुहुन्थ्यो,' उनले भने, 'खेल भइरहेको स्थानमा खै के उद्देश्यले हो हेलिकप्टर अवतरण गरियो, जुन कुनै आकस्मिक नभई नियोजित रूपमा भएकाले पनि दर्शकहरू आक्रोशित हुनुभएको हो।', संवेदनशील विषयप्रति आयोजकले ध्यानाकर्षण गर्दै दोषी उपर छानबिन तथा कारबाहीको माग गर्दै वडा प्रहरी कार्यालय वालिङमा उजुरी दिएको छ। पोखराबाट आएको हेलिकप्टरमा पाइलट र स्थानीय तीन यात्रु थिए।, पाइलटमाथि कुटपिट गर्ने समूहलाई कारबाही गर्न वायुसेवा संघको माग, यता वायुसेवा सञ्चालक संघले पनि हेलिकप्टर पाइलटमाथि कुटपिट गर्ने समूहलाई कारबाही गर्न माग गरेको छ।, संघले बिहीबारै विज्ञप्ति जारी गर्दै पाइलटमाथि कुटपिट गर्ने समूहलाई कारबाही गर्न माग गरेको हो। संघका अनुसार यात्रुले दिएको जिपिएस कोर्डिनेटअनुसार हेलिकप्टर अवतरण गरिएको थियो। सो क्रममा क्याप्टेन रानेश डंगोलमाथि स्थानीय समूहले कुटपिट गर्दा घाइते भएका छन्।, उक्त घटनाको भत्सर्ना गर्दै संघले जिउज्यानको पर्वाह नगरी अहोरात्र दुर्गम क्षेत्रका बासिन्दाको सेवामा खटिइ सुत्केरी, बिरामीलगायत अन्य संवेदनशील मानवीय तथा विकास निर्माणमा संलग्न हुने क्याप्टेनमाथि कुटपिट हुनु निन्दनीय रहेको ठहर गरेको छ।, घटनाको छानबिन गरी दोषीमाथि कारबाही र सुरक्षाको पूर्ण प्रत्याभूति गराउन संघले माग गरेको हो।,
फुटबल मैदानमा हेलिकप्टर अवतरण घटनाको छानबिन गरी दोषीमाथि कारबाहीको माग |
सेतोपाटी संवाददाता आज शुक्रबार सुदूरपश्चिम र कर्णालीका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।, सुदूरपश्चिम, कर्णाली र गण्डकीका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।, हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकाले सुदूरपश्चिम र कर्णालीमा सामान्य बदली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ।, देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यत: सफा रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, महाशाखाका अनुसार शुक्रबार बिहान मध्य तथा पूर्वी तराईका एक-दुई स्थानमा बाक्लो हुस्सु र कुहिरो लागेको छ।, यस्तै दिउँसो सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।, शुक्रबार राति भने देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यत: सफा रहनेछ।, सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थान र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।, सुदूरपश्चिम र कर्णालीका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेकाले तराईका भू-भागमा बिहानीपख हुस्सु/कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।,
सुदूरपश्चिम र कर्णालीका एक-दुई स्थानमा वर्षाको सम्भावना |
रासस हुम्लामा गए रातिदेखि हिमपात सुरु भएको छ।, विगत वर्षमा मंसिर र पुसमा पनि यहाँ हिउँ पर्ने गरेको थियो। हिमपात हुँदा यहाँको जनजीवन कष्टकर बनेको छ।, यसअघि गत कात्तिकमा उत्तरी नाम्खामा हिउँ परेको थियो। सिमकोटमा एक फिटसम्म हिउँ जमेको छ।, लामो समयपछि हिउँ पर्दा यहाँका स्थानीय बिहानैदेखि रमाइलो गर्न थालेका छन्। गए रातिदेखि लगातार हिमपात हुँदा उत्तरी नाम्खा गाउँपालिकाको वडा नं ६ लिमीको जनजीवन कष्टकर बनेको छ।, लिमी, मुचु, खगालगाउँ, तिल, जाङ गाउँलगायत स्थानमा बढी हिमपात भएको छ। बाक्लो हिउँका कारण आवतजावतमा समस्या भएको स्थानीयले बताएका छन्।, हिमपात हुँदा कोदो, चिनु, फापरलगायत कात्तिके बाली सप्रिने आशामा हुम्लाका किसान छन्।,
हुम्लामा हिमपात, जनजीवन कष्टकर |
सेतोपाटी संवाददाता अहिले सामाजिक सञ्जालमा एउटा भिडिओले चर्चा पाएको छ। बिहीबार दिउँसो २ बजेतिर भएको उक्त घटनाको भिडिओ स्याङ्जाको वालिङ नगरपालिकाको खेल मैदानको हो।, मैदानमा 'वालिङ गोल्डकप फुटबल प्रतियोगिता' चलिरहेको थियो।, क्यामरूनको एभिनियर एफसी र वालिङ एएफसी जुनियरबीचको खेल चलिरहेको थियो। त्यही बेला आकाशमा प्रभु एयरको हेलिकप्टर आयो। केही समयपछि खेल भइरहेकै मैदानमा अवतरण पनि भयो। , खेलाडी, आयोजक र दर्शकले हेलिकप्टरमा समस्या आएर आकस्मिक अवतरण गरेको हो कि भन्ने सोचे। तर हेलिकप्टर अनावश्यक रूपमा खेल मैदानमै अवतरण गरेपछि त्यहाँ केहीबेर तनाव सिर्जना भयो। स्थानीयले पाइलट रानेश डंगोल र यात्रुहरूमाथि हातपात गरे।, स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीका अनुसार त्यसरी अवतरण गर्न प्रभु एयरले कुनै अनुमति लिएको थिएन। न त सुरक्षा निकायलाई नै खबर गरेको थियो।, यसरी लापरबाही गरेको भन्दै प्रमुख जिल्ला अधिकारी क्षेत्रीले नेपाल नागरिक उड्डयन प्राधिकरण, पोखरालाई पत्राचार समेत गरेको छ। , प्रभु हेलिकप्टरका प्रवक्ता नोबेल राजलवटलाई हामीले यसबारे सोध्यौं। उनका अनुसार पोखराबाट वालिङको लागि सवा २ बजे हेलिकप्टर उडेको थियो। हेलिकप्टरमा वालिङकै स्थानीयहरू सवार थिए। , 'वालिङकै स्थानीयबासी हुनुहुन्थ्यो। चार जनालाई लिएर पोखराबाट उडेको हो,' उनले भने, 'स्थानीय भएकै हिसाबले कहाँ अवतरण गर्ने भनेर उहाँहरू आफैंले समन्वय गरेको देखिन्छ।', यात्रुहरूले नै उक्त खेल मैदानमा अवतरण गर्न दबाब दिएपछि घटना भएको उनले बताए। घटनाबारे सबै विवरण बुझ्न पाइनसकेको पनि उनको भनाइ छ। तर अवतरण गरेपछि पनि हातपातमै लाग्नु दुखद भएको उनी बताउँछन्।, 'स्थानीयले नै भनेअनुसार अवतरण गरेपछि घटना भयो। विस्तृत विवरण आउने क्रममा छ,' उनले भने, 'प्रशासनसँगको समन्वयबारे पनि मैले बुझ्नै पर्ने हुन्छ। तर अवतरण गरेपछि हातपात नै गर्नु राम्रो कुरा होइन। किन र के भएको हो भन्ने बुझ्नुपर्ने थियो। तर क्याप्टेनमाथि नै जाइलागे।', यसरी हातपात भएपछि पाइलट डंगोललाई सामान्य चोट लागेको उनले बताए। घटनापछि उनी आफैंले हेलिकप्टर चलाएर पोखरा फर्किएका थिए। , पोखराकै एक अस्पतालमा उनले सामान्य उपचारपछि घर फर्किएको प्रवक्ता राजलवटले बताए।, वालिङ गोल्डकप आयोजकका अध्यक्ष लालबहादुर ज्वार्चनले भने हेलिकप्टरमा सवार चारै जना यात्रुले मादक पदार्थ सेवन गरेको आरोप लगाएका छन्।, 'चारै जनाले मापसे गरेका रहेछन्। हामी आयोजक हौं, त्यही खेल मैदानमा लगेर ल्यान्ड गर्नुस्, हामी छौं भनेर पाइलटलाई भनेका रहेछन्,' अध्यक्ष ज्वार्चनले सेतोपाटीसँग भने, 'त्यसरी प्रभावमा पारेर आफूहरू प्रमुख अतिथि हौं पनि भनेछन्। पाइलटलाई दबाब र प्रभावमा पारेको देखियो।', पाइलट डंगोलले तोकिएकै ठाउँमा ल्यान्ड गर्ने बताए पनि यात्रुले जिद्दी गरेको उनले बताए। घटनापछि पाइलटलाई छाडिएको उनले बताए। यो घटनाबारे ती यात्रुहरूविरूद्ध प्रहरीमा जाहेरी दिएको तर उनीहरू घटनापश्चात भागेको पनि उनले बताए।,
खेल मैदानमा हेलिकप्टर अवतरण घटना के हो? |
रासस सुनसरीको धरान उपमहानगरपालिका–५ मा खुकुरी प्रहारबाट एक जनाको हत्या भएको छ।, अर्का एक जना गम्भीर घाइते भएका छन्।, खुकुरी प्रहारबाट स्थानीय ३५ वर्षीय कुमार बुढाथोकीको बिहीबार हत्या भएको हो।, जिल्ला प्रहरी कार्यालयका अनुसार खुकुरी प्रहारबाट स्थानीय २५ वर्षीया मञ्जु खड्का राई गम्भीर घाइते भएकी छिन्।, स्थानीय ३९ वर्षीय हर्कबहादुर राईले आफ्नै घरको भान्छा कोठामा साथी ३५ वर्षीय बुढाथोकीको खुकुरी प्रहार गरी हत्या गरेका थिए।, उनलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। साथीको हत्या गरेर निस्किएका हर्कबहादुरले मञ्जुको घरमा पसेर उनीमाथी खुकुरी प्रहार गरेका थिए।, भागेर नजिकैको सागबारीमा पसेकी मञ्जुलाई उनले अन्धाधुन्ध खुकुरीले प्रहार गर्न थालेपछि स्थानीयले नियन्त्रणमा लिएका थिए। गम्भीर घाइते मञ्जुको धरानस्थित विजयपुर अस्पतालमा उपचार भइरहेको छ।, मृतक बुढाथोकीको शव परीक्षणका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ। हत्याको कारण खुल्न सकेको छैन। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।,
खुकुरी प्रहारबाट धरानमा युवाको हत्या |
सेतोपाटी संवाददाता त्रिभुवन विमानस्थलमा भिजिविलिटी कम हुँदा जहाजहरूलाई अवतरणमा समस्या भएको छ। , शुक्रबार बिहान भिजिविलिटी कम भएकाले विभिन्न ठाउँबाट आएका आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका जहाजहरू डाइभर्ट भएका छन् भने केही आकाशमै होल्ड गरिएका छन्। , नेपालगञ्जबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज खराब मौसमका कारण काठमाडौंमा अवतरण गर्न नसकेपछि झापाको भद्रपुर पुगेको छ।, चार जना चालक दलका सदस्य र ५२ यात्रु बोकेको जहाज शुक्रबार बिहान नेपालगञ्ज विमानस्थलबाट साढे ७ बजे उडेको थियो।, काठमाडौं विमानस्थलमा अवतरण गर्न भिजिबिलिटी नपुगेपछि जहाज भद्रपुर गएको श्री एयरलाइन्सले जनाएको छ।, ‘काठमाडौं र आसपासका अन्य विमानस्थलहरू भरतपुर, सिमरा र विराटनगर पनि भिजिबिलिटी नभएपछि जहाज भद्रपुर गएको हो,’ श्री एयरलाइन्स स्रोतले भन्यो।, उता मलेसियाको क्वालालम्पुरबाट आएको नेपाल वायु सेवा निगमको जहाज काठमाडौंमा अवतरण हुन नसकेपछि पश्चिम बंगालको कलकत्तामा पुगेको छ। , आरएनए ४१६ जहाज कलकत्ता पुगेको हो। , विमानस्थलका एकजना एटिसीका अनुसार अहिले विमानस्थलको भिजिविलिटी १६ सय मिटर छ। , विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुरका अनुसार कलकत्ता डाइभर्ट भएको जहाज अवतरण हुन भिजिविलिटी २२ सय मिटर हुनुपर्छ।, उनका अनुसार भिजिविलिटी बढ्दै गएकाले आन्तरिकतर्फका उडान अब केहीबेरमा अवतरण हुने क्रममा छन्।,
त्रिभुवन विमानस्थलमा भिजिविलिटी कम: नेपालगञ्जदेखि आएको जहाज पुग्यो भद्रपुर, मलेसियाबाट आएको कलकत्तामा |
सेतोपाटी संवाददाता सशस्त्र प्रहरी बल (एपिएफ) का ९७ जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी) को सरूवा भएको छ।, एपिएफ प्रधान कार्यालय हलचोकले बिहीबार राति ९७ जना एसपीको सरूवा गरेको हो। अहिलेको सरूवा पूर्वानुमान सूचीअनुसार नै गरिएको एपिएफका प्रवक्ता एवं सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पुरूषोत्तम थापाले जानकारी दिए।, गत कात्तिक १५ गते एपिएफको कर्मचारी प्रशासन शाखाले एसपीको सम्भावित सरूवा सूची प्रकाशन गरेको थियो। त्यसअनुसार नै अहिले एसपीको सरूवा भएको हो।, सरूवामा एक पटक पनि कमान्डको जिम्मेवारी प्राप्त नगरेका एसपीलाई पहिलो प्राथमिकतका कार्यालयमा सरूवा गरिएको छ। रिजर्भ गण र तालिम शिक्षालयहरूमा कमाण्ड गरेका एसपीलाई दोस्रो प्राथमिकतामा राखेर सरूवा गरेको प्रधान कार्यालयले जनाएको छ।, मुख्य गणमा कमान्ड गरेका एसपीलाई भने तेस्रो प्राथमिकतामा राखेर सरूवा गरिएको हो। सरूवा पूर्वानुमान सूचीका मुख्य उम्मेदवार रहेका तर विभिन्न स्वदेश तथा विदेशमा तालिमरत रहेका र संगठनको आवश्यकताले महत्वपूर्ण जिम्मेवारीमा खटाएका एसपीहरूलाई भने आगामी सूचीमा समावेश गरी खटाउने तयारी छ।, ती एसपीको हाल सरूवा नगरिएको एपिएफले जनाएको छ। नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीका एसपी राजेश उप्रेतीको प्रधान कार्यालय महानिरीक्षकको सचिवालयमा सरूवा भएको छ।, भरत खनियाको एपिएफ नम्बर १० गण सर्लाहीबाट मुक्तसनाथ बाहिनी मुख्यालय कास्कीमा सरूवा भएको छ। नम्बर ११ गण हेडक्वार्टर रौतहटका ध्रुवबहादुर कार्कीको राष्ट्रिय सुरक्षा परिषदको सचिवालय सिंहदरबारमा सरूवा भएको हो।, नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका रमेशकुमार पाण्डेको एपिएफ कमान्ड तथा स्टाफ कलेज काठमाडौंमा, युएन शान्ति स्थापना तालिम शिक्षालय ककनीका तिर्थराज पौडेलको ६ नम्बर गण हेडक्वार्टर सप्तरी, एपिएफ कमान्ड तथा स्टाफ कलेज काठमाडौंका रविनराज कर्णनितको युएन शान्ति स्थापना तालिम शिक्षालय ककनीमा सरूवा भएको हो।, युएन शान्ति स्थापना शिक्षालय ककनीका विर सिंह शाहूको नम्बर ४३ रिजर्भ गण हेडक्वार्टर बवबेहडा कैलालीमा, नम्बर ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीका जनक पुरीको एपिएफ हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटन पोखरामा सरूवा भएको हो।, त्यस्तै नेत्रबहादुर कार्कीको नम्बर १४ गण हेडक्वार्टर मकवानपुरबाट एपिएफ कमान्ड तथा स्टाफ कलेज काठमाडौंमा सरूवा भएको हो। यसैगरी ९७ जना एसपीको सरूवा भएको हो।,
सशस्त्र प्रहरीका ९७ एसपीको सरूवा, पहिलो पटक पूर्वानुमान सूचीअनुसारकै सरूवा |
सेतोपाटी संवाददाता इलामको माई नगरपालिकास्थित मैनाचुली सामुदायिक वनको जंगलमा बेवारिसे शव फेला परेको छ।, बिहीबार दिउँसो दाउरा लिन गएका स्थानीयले झरना खोलामा शव देखेपछि झापा प्रहरीलाई खबर गरेका थिए। , शवको पहिचान भने भइनसकेको प्रहरीले जनाएको छ।, इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक महेन्द्र खड्का नेतृत्वको प्रहरी टोली घटनास्थल पुगिसकेको छ। तर, घटनास्थल इलाम जिल्ला परेकाले अनुसन्धान सहितको प्रहरी नायब उपरीक्षकको टोली घटनास्थल आइपुगेपछि मात्रै अनुसन्धानको प्रक्रिया सुरू हुने खड्काले बताए। , झापाको दुधेदेखि झण्डै तीन किलोमिटर उत्तरको जंगलमा शव फेला परेको हो।, शवको टाउको र खुट्टातिरको कुरकुच्चा देखिएको छ। अन्य भाग ढुंगाले छोपिएको स्थानीय मञ्जिल नेपालले बताए। उनका अनुसार शव गन्हाउन थालेको छ।, घटनास्थल पुगेका स्थानीयले कर्तव्य गरी शव लुकाउन जंगलको खोलामा लगेर छोपेको हुन सक्ने बताएका छन्। ,
इलाममा बेवारिसे शव फेला |
रासस सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकाले जटिल रोगका बिरामीलाई मासिक पाँच हजार रुपैयाँ उपलब्ध गराउन थालेको छ।, मिर्गाैला प्रत्यारोपण गरेका, डायलायसिस गराइरहेका, क्यान्सर र मेरूदण्ड पक्षघात भएकालाई औषधोपचारका लागि सहयोग गर्न थालिएको हो , नेपाल सरकारले यी चार रोगका बिरामीलाई उपचारमा सहयोग गर्ने उद्देश्यले कार्यविधि बनाएर उपचार खर्च उपलब्ध गराउन देशैभरका स्थानीय तहलाई निर्देशन दिएको थियो।, मिर्गौला प्रत्यारोपण गरेका, डायलायसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएकालाई औषधोपचारवापत खर्च उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, २०७८ अनुसार सुनकोसीले ३८ बिरामीलाई छ महिनाको रु ३० हजारका दरले सम्बन्धित बिरामीको खातामा रकम जम्मा गरिएको गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिनाले जानकारी दिए।, गाउँपालिकाले उक्त कार्यविधिअनुसार सार्वजनिक सूचनामार्फत् सबैसँग निवेदन माग गरेको र चिकित्सको रोग प्रमाणित हुने कागजपत्रको आधारमा रकम बैंकमा जम्मा गरिदिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले बताए।, गाउँपालिकाले त्रैमासिक रूपमा बिरामीको खातामा पैसा जम्मा गर्न थालेको छ।, अहिले साउनदेखिकै रकम प्रदान गरिएको र पछि आउने बिरामीलाई उनीहरूको कागजपत्रका आधारमा रकम प्रदान गर्ने दुलालले बताए।, मेरूदण्डको पक्षघातबाट पीडित भएकी सुनकोसी–५ की सरिता थामीले पनि उपचारका लागि मासिक रूपमा रु पाँच हजार स्थानीय सरकारबाट पाउँदा खुसी लागेको बताइन्।, सुनकोसी गाउँपालिकाको चालु आर्थिक वर्ष २०७९/८० को स्वीकृत कार्यविधिअनुसार गाउँपालिका स्थायी ठेगाना भएका र मधुमेह, उच्च रक्तचाप, दम र मानसिक रोगीलाई निःशुल्क औषधि उपलब्ध गराउने भएको छ।, गाउँपालिकाले यही माघ तेस्रो सातादेखि चारै रोगका बिरामीलाई सम्बन्धित वडा, स्वास्थ्य चौकी र महिला स्वास्थ्य स्वयंसेविकामार्फत् बिरामीले नियमित सेवन गर्दै आएको औषधि नै गाउँपालिकाले प्रदान गर्न लागेको गाउँपालिकाका अध्यक्ष तिमल्सिनाले जानकारी दिए।, गाउँपालिकाभित्र यी रोगका बिरामीले नियमित सेवन गरेको औषधिको विवरण प्राप्त भइसकेको र औषधि ल्याउने अन्तिम चरणमा रहेकाले माघभित्र नै सबै बिरामीको घर–घरमै औषधि पुर्याउनका लागि गाउँपालिकाले कार्यक्रम बनाएको अधिकृत दुलालले जानकारी दिए।,
,
सुनकोसीमा जटिल रोगका बिरामीलाई मासिक पाँच हजार |
रासस सडक विभागले आफूलाई राष्ट्रिय राजमार्गमा पर्ने पुल निर्माणमा केन्द्रित गर्ने गरी स्थानीय तह अन्तर्गतका पुल निर्माण नगर्ने तयारी गरेको छ।, स्थानीय तह अन्तर्गतका पुल हस्तान्तरण तथा बजेट लगायतमा समस्या आएको भन्दै विभागले अब राष्ट्रिय राजमार्गका पुल निर्माणमा मात्रै केन्द्रित हुने तयारी गरेको हो। , विभागका प्रवक्ता भीमार्जुन अधिकारीले स्थानीय सडकका पुलको ठेक्का हस्तान्तरण तथा पर्याप्त बजेट नहुने भएपछि आगामी आर्थिक वर्षदेखि स्थानीय तह अन्तर्गतका नयाँ पुल निर्माणको काम नगर्ने गरी छलफल अघि बढेको बताए। , ‘आगामी आर्थिक वर्षदेखि स्थानीय तह अन्तर्गतका पुल निर्माणको काम विभागले नगर्ने गरी छलफल गरी बढेको छ, बजेट पनि सोहीअनुसार विनियोजन हुन्छ’, उनले भने, ‘अब स्थानीय सडकमा पर्ने पुल स्थानीय तह, प्रदेश वा स्थानीय पूर्वाधार विभागले गर्नेछन्।’ , सडक विभागमा राष्ट्रिय राजमार्गमा पर्ने पुल निर्माणको जिम्मेवारी भए पनि अहिले स्थानीय तहका पुल निर्माण पनि विभाग अन्तर्गत भइरहेको उनको भनाइ छ।, विभाग मातहतमा हाल मुलुकभर एक हजार दुई सयको हाराहारीमा पुल निर्माणाधीन अवस्थामा छन्। जसमध्ये झन्डै नौ सय पुल स्थानीय सरकार अन्तर्गतका हुन्। एकै पटक धेरै पुल निर्माणको जिम्मेवारी हुँदा विभागले अपेक्षाकृत रूपमा काम गर्न नसकेको उनको भनाइ छ। जनशक्तिलगायत स्रोत तथा साधन सीमित हुँदा समयमै पुल निर्माण नहुने अवस्था देखिएको विभागको भनाइ छ।, विभागले ठूला र जटिल सडक तथा पुल निर्माण गर्नुपर्नेमा स्थानीय सडकका स–साना पुल निर्माणमै लाग्नुपरेको सडक विभागका पुल महाशाखामा कार्यरत इञ्जिनियर कमलकुमार बस्नेतको भनाइ छ।, विभागले रणनीतिक पुल निर्माणमा मात्रै केन्द्रित हुने उद्देश्यले गत वर्षदेखि स्थानीय पुल हस्तान्तरण गर्न खोजे पनि नसकिएको उनको भनाइ छ। , ‘सडक विभागमा निर्माण गर्नुपर्ने पुलको सङ्ख्या बढ्दै जाँदा बोझ थपिएको छ’, उनले भने, ‘नयाँ स्थानीय पुल अन्य निकायमार्फत् निर्माण गर्ने गरी छलफल भइरहेको छ।’, उनका अनुसार आगामी आवको बजेटमा सहरी विकास मन्त्रालयअन्तर्गत स्थानीय पूर्वाधार महाशाखाले निर्माण गर्ने गरी छलफल भइरहेको हो। हाल स्थानीय पूर्वाधार विभागले झोलुङ्गे पुललगायत स्थानीय स्तरमा आवश्यक पूर्वाधार निर्माण गरिरहेको छ। , विभागसँग ठूलो सङ्ख्यामा निर्माणाधीन पुल भए पनि बजेट भने निकै कम विनियोजन हुने गरेको शाखाको गुनासो छ।, निर्माणाधीन पुलमध्ये दसौं वर्ष पुरानो ठेक्का रहेका पुल पनि छन्। उनले रू पाँच/दस करोडलागत लाग्ने पुलमा एउटा आर्थिक वर्षमा रू ५० लाख मात्रै बजेट विनियोजन हुँदा काम गर्न समस्या भएको बताए। , ‘झन्डै एक सय वटा पुल निर्माणमा बजेटको समस्या छ, पर्याप्त बजेट नहुँदा समयमै काम गर्न गाह्रो हुन्छ’, उनले भने, ‘बर्सेनि रकम छुट्याएजस्तो देखिए पनि बजेट अभावमा काम पूरा हुन सकेको छैन।’, विभागका अनुसार प्रत्येक वर्ष औसतमा करिब चारदेखि पाँच हजार वटा पुल निर्माणको माग हुन्छ। खासगरी जनप्रतिनिधिहरूबाट पुलको माग बढी आउने गरेको उनको अनुभव छ।, विभागका अनुसार झण्डै एक सय पुलको डिजाइन हुने क्रममा छन्। त्यस्तै एक सय ६० पुल भने निर्माण कम्पनी आफैंले निर्माण गर्ने गरी ‘डिजाइन एण्ड बिल्ड’मार्फत् अघि बढाइएको इञ्जिनियर बस्नेतले बताए। , विभागले खासगरी एक सय मिटरभन्दा लामो पुलहरू ‘डिजाइन एन्ड बिल्ड’ प्रक्रियामार्फत् अघि बढाइरहेको बस्नेतले जानकारी दिए। यस्ता ठेक्कामा निर्माण कम्पनीले पहिलो छ महिनामा डिजाइन गरेर त्यसपछि काम सुुरू हुने गरेको छ।, यो प्रक्रियामार्फत् काम गर्दा बढी प्रभावकारी हुने देखिएको उनले बताए। यसमा ‘क’ वर्गको निर्माण व्यवसायीले आफैं लगानी गरेर काम गर्ने गर्छन्।, विभागका प्रवक्ता भीमार्जुन अधिकारीका अनुसार विभाग मातहतमा हाल एक हजारभन्दा बढी पुल निर्माणाधीन अवस्थामा भएको र पर्याप्त बजेट अभावमा समस्या भइरहेको छ।, उनले पुल निर्माण जति वर्षमा पूरा हुने हो सोही अनुसार बजेट विनियोजन गर्नुपर्ने बताए। , ‘निर्माण सम्पन्न भएका पुलको हकमा भुक्तानी दिन रकम अभाव हुने र बचत भएमा रकमान्तर गरेर दिने गरिएको छ’, उनले भने, ‘अहिलेसम्म जहाँ बचत छ रकमान्तर गरेर र जहाँ कम छ त्यहाँ अर्थ मन्त्रालयले थप निकास गरेर भुक्तानी भइरहेको छ।’, गत आवमा विभागले दुई सय ८२ सडक पुल सम्पन्न गरेको थियो। तीन सय पुल सम्पन्न गर्ने लक्ष्य लिइएकामा प्रगति ९४ प्रतिशत रहेको थियो। ,
सडक विभागले स्थानीय तह अन्तर्गतका पुल निर्माण नगर्ने |
मन्दिरा घिमिरे महिनावारीका कुरा, कमेडियन सीता न्यौपाने कक्षा सातमा हुँदा पहिलोपटक महिनावारी भएकी थिइन्। उमेर थियो ११ वर्ष। वैशाख १२ गते, खाजा खाने समयमा साथीले 'रगत लाग्यो' भनेको उनलाई अझै सम्झना छ।, सीताको स्कुलको ड्रेस निलो स्कर्ट थियो। रातो रङ लाग्दा कालो देखिन्थ्यो। सोही आधारमा साथीले भनेकी थिइन्।, 'उसले रगत होला भन्दा मैले मसी पोखियो होला भनेकी थिएँ,' २७ वर्षीया सीताले सम्झिन्।, घर आएर उनले आमालाई भनिन्। आमाले 'तँ पर सरिस् अब, दाइ र बाबाले हेर्न हुँदैन' भनिन्।, सीताले पनि भनिछन्, 'उहाँहरूले हेर्न हुँदैन भने दाइ र बाबालाई नै लुकाउनु न, किन मलाई लुकाउनु!', , विभिन्न ठाउँअनुसार पहिलो पटक महिनावारी हुँदा लुकाउने, गुफा राख्ने वा छाउ पठाउने गरिन्थ्यो। धेरै ठाउँमा यो चलन अझै छ। सोहीअनुसार सीताले पनि लुक्नु पर्यो।, सुरूमा उनलाई अर्कैको घरमा राख्ने भनिएको रहेछ। सीताका दाइ मानेनन्। अनि घरमै छुट्टै कोठामा बसेको उनले बताइन्।, पाँचौं दिनदेखि स्कुल जान थालेकी थिइन्।, अरू बेला आमाले खाए नखाएको खासै वास्ता नगर्ने र भोक लागे झिकेर खान्छे भन्ने सोचे पनि महिनावारी हुँदा एकदमै ख्याल गरिन्। माया गरेर मीठोमसिनो र पोषिलो खानेकुरा खुवाइन्। पछि पनि यो क्रम चलिरह्यो।, 'अमिलो-पीरो खान मन लाग्यो होला भनेर तितौरा पनि किनेर ल्याइदिनु हुन्थ्यो,' सीताले सम्झिन्, 'मलाई त स्कुल पनि जान नपर्ने र मीठो-मीठो खान पाएको देख्दा सधैं महिनावारी भए हुन्थ्यो भन्ने लाग्थ्यो। त्यो सोच गलत रहेछ भन्ने पछि थाहा पाएँ।', किशोर उमेरमा महिनावारी भएका बेला उनी खुबै लजाउँथिन्। घरमा कोही आफन्त र छरछिमेक आउँदा लुकेर बस्थिन्। अरूसँग कुरा गर्न र आफू महिनावारी भएको कुरा भन्न लाज लाग्थ्य।, 'घरमा अरू आउँदा अब त यो आइमाई भई, बच्चा पाउन योग्य भई, बिहे गरेर पठाउँदा हुन्छ भन्ने किसिमको कुरा हुन्थ्यो,' उनी भन्छिन्, 'त्यसैले पनि कोठाबाट बाहिर निस्किन्न थिएँ।', महिनावारीबारे आमाबाहेक अरूसँग कुरा हुन्थेन। बाहिर भने केटीमान्छेहरूसँग खुलेर कुराकानी गर्थिन्। चार दिन बार्ने नाममा आराम गर्न दिएको भन्ने तर्क गर्छन् कोहीकोही। उनी यो कुरा मान्दिनन्।, 'त्यसो भए चार दिन मात्र आराम गर्न दिएर हुन्छ,' उनी भन्छिन्, 'अरू २६ दिन भारी बोक्नेदेखि कामकै भारीले लादेको हुन्छ। शरीरलाई चार दिन मात्र आराम गरेर त पुग्दैन होला नि!, त्यसो त बाहिर काम गर्नुभन्दा घरभित्रकै काम सहज हुने उनको भनाइ छ। घाँस-दाउरा, कुँडो-पानी लगायत गर्न धेरै बल चाहिने भएकाले महिलाहरूलाई शारीरिक भार थपिने र गाह्रो हुने उनको जिकिर छ।, महिनावारी समयमा पोषिलो खानुपर्ने भए पनि हामीकहाँ यस्तो चलन नभएको उनी बताउँछिन्।, 'शक्ति दिने रसिलो र झोलिलो खानुपर्छ। तर हामीकहाँ त दूधसमेत खान नदिने चलन पनि छ,' उनी भन्छिन्,' महिनावारी भएकाले काटेको घाँस गाईलाई खुवाउन केही नहुने तर त्यही गाईले दिने दूध खान नहुने रे, कस्तो अचम्म नियम!', सीता अहिले काठमाडौंमा डेरा लिएर एक्लै बस्छिन्। उनका अनुसार कहिलेकाहीँ हजुरआमा आउँदा बार्ने गरेको छ कि छैन भन्दै सोध्छिन्।, उनी कमेडी शैलीमै जवाफ दिन्छिन्- बार्ने गरेको छ। महिनावारी हुँदा अर्कातिरबाट पकाएर खाने गरेको छु।, कोठाको एउटा कुनामा किचन र सुत्ने ठाउँ त्यही नजिकै हुन्छ। एक्लै बस्ने ठाउँमा कसले बारेर, कसले पकाएर खान दिन्छ? उनलाई यसै भन्न मन लाग्छ।, 'तर उहाँहरूसँग झगडा गरेर बस्न सकिँदैन। बुझाउन पनि सकिँदैन। त्यसैले बार्ने गरेको छ भनेपछि कुरै सकिन्छ,' उनी भन्छिन्।, महिनावारी बार्ने घरमा पुग्दा त उनी चुप लागेर केही नभनी बस्छिन्। त्यो गर्दा नै उपयुक्त हुने उनलाई लाग्छ। जसरी आफूमा परिवर्तन बिस्तारै आयो, अरूमा पनि आउँछ भन्ने उनलाई लाग्छ। पहिले महिनावारी भएको समयमा धेरै लजाउने उनी अचेल खुलेर कुरा गर्छिन्।, स्कुले जीवनमै जति कुरा भयो, उति सहज हुने उनको अनुभव छ। उनका शिक्षकले पनि राम्ररी पढाएकाले धेरै कुरा सहज भएको उनले बताइन्। उनीहरूको स्कुलमा लेखा र स्वास्थ्य शिक्षा विषय एउटै शिक्षकले पढाउँथे।, 'हाम्रो उमेरका केटाकेटीलाई महिनावारी र स्वास्थ्यबारे ज्ञान दिनुपर्छ भन्ने सोचेर होला, अर्को कोर्स बाँकी राखेरै भए पनि स्वास्थ्यको कोर्स सक्नुभएको थियो,' उनले भनिन्।, त्यस्तै कुनै बेला साथीभाइसँग कतै बाहिर जानु परे महिनावारी नजिकिँदै छ भनेर नजाने कि भनेर सोच्थिन् उनी। अहिले वास्तै गर्दिनन्। महिनावारी अब उनको बाधा बन्दैन।, कमेडी करिअरमा उकालो लागिरहेकी सीता चितवनको रामपुरमा जन्मेकी हुन्। परिवारमा आमाबुवा र दुई दाजु छन्। माइक्रोबायोलोजी विषय पढेकी उनको रूचि भने कमेडीमा थियो। साथीसंगीमाझ सधैं जोक सुनाइरहेकी हुन्थिन्। युट्युबमा आउने स्ट्यान्ड अप कमेडी खुबै हेर्थिन्। त्यसरी हेर्दै जाँदा आफू पनि सक्छु कि भन्ने लाग्यो। यही प्रयासले उनलाई नेपग्याज्म कमेडीमा पुर्यायो। त्यहाँबाट सुरू भएको कमेडी यात्रामा उनले पछाडि फर्किनु परेको छैन।, महिनावारीले उनको काममा कहिलेकाहीँ प्रभाव पार्छ। मुड स्विङ (मुड बदलिरहने) हुन्छ। राम्रो हुँदा त ठीकै हो, झिँजो लागेको, दुखी भएको र रिस उठेका बेला भने उनी चुप लागेर बस्छिन्। अरूलाई हँसाउने काम भएकाले आफ्नो मुड बिग्रेको सकेसम्म थाहा दिन्नन्।, परिवर्तन आजको भोलि सम्भव नहुने र बिस्तारै हुँदै जाने उनको विश्वास छ। अचेल विस्तारै मानिसहरूले महिनावारीलाई सहज मान्दै गएको अनुभव उनले गरेकी छन्।, 'कुनै पनि कुरा आजको भोलि परिवर्तन हुँदैन,' उनी भन्छिन्, 'यी सब कुरा बिस्तारै फेरिँदै जाने हुन्। हाम्रा हजुरआमाहरूले एकदमै बार्नुहुन्थ्यो। आमाको पुस्तामा आउँदा अलि कम भयो। एक-एक खुड्किलो गर्दै हुन्छ।', उनले उदाहरण दिँदै थपिन्, 'पहिलोपटक महिनावारी भयो भन्दा पहिलेपहिले छरछिमेकदेखि आफन्तसम्मले कुरा काट्थे, अचेल त केक काट्छन्। सेलिब्रेसन गर्छन्।', उनी यो पक्षलाई राम्रो वा नराम्रो दुवै मान्दिनन्। शारीरिक विकासको सामान्य प्रक्रिया भन्ठान्छिन्। तर कसैले यसलाई उत्सव मानेर मनाउँछ भने त्यसलाई नराम्रो भन्न नसक्ने उनले बताइन्।, 'यो सबैमा हुने सामान्य कुरा हो। हर्मोन विकास भएको हो। त्यसो भए त केटाहरूको जुँगाको रेखी आउँदा पनि सेलिब्रेट गर्ने त!,' उनले रमाइलो शैलीमा भनिन्, 'तर छुँदै नछोएर दुरदुर गर्नुभन्दा यही राम्रो हो।', सीता महिनावारीलाई सामान्य र प्राकृतिक नियम भनेर बुझ्नपर्ने बताउँछिन्। शरीरभित्रै रगत हुँदा चाहिँ शुद्ध र बाहिर निस्किएपछि अशुद्ध भन्ने हुँदैन। तर समाज बदलिन पनि समय लाग्छ। आफूभन्दा अगाडिका पुस्तालाई बुझाउन कोशिस गर्दा नसकेको उनको अनुभव छ। नयाँ पुस्तालाई भने बुझाउन सक्नेमा उनी विश्वस्त छिन्। , यो पनिः, १- एलिना चौहान भन्छिन्,-, हाम्रो घरमा भाइले बहिनीलाई प्याड किनेर ल्याइदिन्छ (भिडिओ),
कमेडियन सीता भन्छिन्- पहिले महिनावारी हुँदा कुरा काट्थे, अचेल केक काट्छन्! (भिडिओ) |
सेतोपाटी संवाददाता बिहीबार दिउँसो स्याङ्जाको वालिङमा फुटबल खेल भइरहँदा एक्कासी हेलिकप्टर अवतरण भएको घटना सामाजिक सञ्जालमा चर्चाको विषय बन्यो।, खेल चालु भइरहेको अवस्थामा एक्कासी हेलिकप्टर अवतरण भएको भन्दै आक्रोशित केही स्थानीयले पाइलट रनेश डंगोल र यात्रुमाथि हातपात गरे।, पोखराबाट वालिङको लागि उडेको प्रभुको उक्त हेलिकप्टरमा पाइलट र चार जना यात्रु थिए। जसमा विनोद गैरे, उज्जवल थापा, सुशील गिरी र खिमबहादुर राना छन्। हामीले यो घटनाबारे यात्रुमध्येका एक विनोद गैरेसँग कुराकानी गरेका छौं।, गैरका अनुसार वालिङका स्थानीय उनीहरू सबै ठेकेदार हुन्। बिहीबार उनीहरू पोखरामा थिए। त्यहीबेला गफैगफमा उनीहरूबीच वालिङमा भइरहेको फुटलब हेर्न जाने कुरा भयो। त्यसपछि आफूहरूले हेलिकप्टर बुक गरेको गैरेले सेतोपाटीसँग बताए।, उनले हेलिकप्टर साढे १ बजेको लागि बुक गरेको भए पनि मौसमका कारण ढिला उडान भएको बताए।, 'पोखराबाट साढे १ बजे उड्नुपर्ने थियो तर मौसमका कारण ढिला भयो। पछि वालिङका साथीहरूसँग समन्वय गर्दागर्दै मेरो मोबाइल अफ भयो,' उनले भने।, गैरेले हेलिकप्टर समयमै उड्न पाएको भए हिजोको समस्या नै नआउने बताए। खेल सुरू हुनुअगाडि नै अवतरण गर्ने आफूहरूको योजना भएको उनको दाबी छ।, आफू पनि स्थानीय वालिङ युनाइटेड क्लबको सदस्य रहेको उल्लेख गर्दै उनले हिजोको घटना नियोजित नभएको बताए।, 'खेल भइरहेको बेला अवतरण गर्ने कुनै नियत थिएन। म आफैं पनि वालिङ युनाइटेडको सदस्य हो। पोखराबाट १:३० मा उडेको भए १:४५ तिर वालिङ आइपुग्ने र क्लबहरूलाई पनि अलिकति सहयोग गर्ने भन्ने थियो। तर मौसमका कारण अलिकति ढिला भयो,' गैरेले भने।, समयमै उडान भएर खेल सुरू हुनुअघि अवतरण भएको भए अहिले यो सबै हल्ला नहुने उनको भनाइ छ।, उनले खेल चलिरहेका बेला हेलिकप्टर मैदानमा अवतरण गर्नु आफूहरूको गल्ती भएको उनले स्वीकारे।, गैरेले भने, 'खेल भइरहँदा ल्यान्ड गर्नु हामीबाट गल्ती भयो। तर यो नियोजित थिएन। सोच्दै नसोचेको कुरा भयो।' , प्रभु हेलिकप्टरले भने यात्रुहरूले मैदानमै अवतरण गर्न दबाब दिएका कारण पाइलटले खेल मैदानमा हेलिकप्टर पुर्याएको बताएको छ।, प्रतियोगिताको आयोजकले पनि यात्रुले मापसे गरेको र पाइलटलाई ल्यान्ड गर्न दबाब दिएको बताएको छ।, आयोजकका अध्यक्ष लालबहादुर ज्वार्चनले सेतोपाटीसँग भने, 'चारै जनाले मापसे गरेका रहेछन्। हामी आयोजक हौं, खेल मैदानमा लगेर ल्यान्ड गर्नुस्, हामी छौं भनेर पाइलटलाई भनेका रहेछन्।', गरैले बाहिर आएका हल्लाहरू गलत रहेको दाबी गरे।, 'हामीमध्ये एकजनाले चाहिँ रक्सी खाएको थियो। ठेक्कापट्टामा हिँड्ने हामी सुखदुःख मानेर खाइएको हो तर नियोजित, हेप्ने भन्नेजस्ता बाहिर आएको कुरा गलत हो,' उनले भने, 'हामीले पाइलटलाई कुनै दबाब दिएको होइन। दिएको हो भने उहाँले मान्नैपर्छ भन्ने पनि छैन नि।' , गैरेले हिजो घटनामा पाइलटको कुनै दोष नरहेको पनि बताए। उनले पाइलटमाथि हातपात हुनु गलत रहेको बताउँदै आगामी दिनमा यस्तो घटना हुनु नहुने जनाए।, 'पाइलटको केही दोष छैन तर उहाँमाथि हातपात भएको कुराले अलिकति समस्या भयो। म पनि यहीँको स्थानीय हो र त्यो कुरामा मैले सबैसँग माफी मागिसकें,' गैरेले भने।,
खेल मैदानमा हेलिकप्टर उतारेका यात्रु भन्छन्- हाम्रो त्यस्तो नियत थिएन |
सेतोपाटी संवाददाता नवलपुरको मध्यबिन्दु नगरपालिकास्थित नारायणी नदीको किनारमा एक सिंगे गैंडाको माउ-बच्चा मृत फेला परेका छन्।, वडा नम्बर २ मा पर्ने नदीको बगरमा अन्दाजी १४ वर्षकी पोथी गैंडा र ४ वर्षको केटो(गैंडाको बच्चा)मृत अवस्थामा भेटिएका हुन्।, यो ठाउँ चितवन राष्ट्रिय निकुञ्जको अमलटारी सेक्टरअन्तर्गत भुताह पोष्टनजिक पर्छ। , चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले सिकारीको आक्रमणबाट गैंडाका माउ-बच्चाको मृत्यु भएको आशंका गरिएको बताए।, ‘मृत गैंडाको प्रकृति हेर्दा हिजै मरेकोजस्तो देखिन्छ। माउको खाग काटिएको छ, बच्चाको सुरक्षित छ,’ तिवारीले सेतोपाटीसँग भने, ‘हामीले आजमात्रै जानकारी पायौं। दिउँसो साढे १२ बजेतिर जानकारी पाएपछि हाम्रो टोली पुगेर अनुसन्धान सुरू गरेका छौं।’, उनले विद्युतीय धराप थापेर मारिएको आशंका गरे। , स्थानीयबासीले मृत गैंडा देखेपछि चितवन राष्ट्रिय निकुञ्ज र त्यहाँको सुरक्षार्थ खटिएको नेपाली सेनालाई खबर गरेका थिए। , नवलपुरको अमलटारी क्षेत्रमा यसअघि पनि गैंडाका माउ, बच्चालाई सिकारीले निसाना बनाउने गरेका थिए।, यो घटनासँगै यस आर्थिक वर्षभित्र चितवन राष्ट्रिय निकुञ्जमा मृत्यु भएका गैंडाको संख्या १० पुगेको छ।,
नारायणी नदीको किनारमा मृत भेटिए गैंडाका माउ–बच्चा |
सेतोपाटी संवाददाता हाल सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भेगमा भूभागमा सामान्य बदली, मधेश प्रदेश र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रहेको छ। यस्तै देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। , महाशाखाका अनुसार आज दिउँसो पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। यस क्रममा सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ।, आज राति प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।, हाल काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३.८ डिग्री सेल्सियस रहेको महाशाखाकी मौसमबिद् बिनु महर्जनले जानकारी दिइन्।दिउँसो घाम लाग्ने भएकाले चिसो क्रमशः घटेर जाने उनले बताइन्। , यद्यपि तराईका क्षेत्रमा भने कतै कतै दिनभरी जसो हुस्सु र कुहिरो लाग्ने सम्भावना छ। , सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको उनले बताइन्। तराईका धेरै भूभागमा बिहानीपख हुस्सु/कुहिरो लागेर दैनिक जनजीवन प्रभावित भएकाले आवश्यक सतर्कता अपनाउन उनले आग्रह गरिन्।, ,
यस्तो छ आजको मौसम |
सेतोपाटी संवाददाता बिहीबार स्याङ्जाको वालिङस्थित मैदानमा फुटबल खेल भइरहेको बेला हेलिकप्टर अवतरणपछि स्थानीयको कुटपिटबाट घाइते भएका पाइलट रनेश डंगोलसँग माफी मागेर सम्मान गर्ने सहमति भएको छ।, शुक्रबार नगरपालिकाका मेयर कृष्ण खाँणको रोहवरमा बसेको दुई पक्षीय छलफलमा सो सहमति भएको हो।, शनिबार प्रतियोगिताको समापन समारोह पनि भएको उल्लेख गर्दै मेयर खाँणले भोलि नै पाइलट डंगोललाई पनि उपस्थित गराएर माफी माग्ने र सम्मान गर्ने सहमति भएको जानकारी दिए।, 'भोलि खेलको फाइनल छ। पाइलटलाई भौतिक उपस्थित गराएरै आयोजक, हातपात गर्ने व्यक्तिहरू र यात्रुहरूले पनि माफी माग्ने र सम्मान गर्ने सहमति भएको छ,' उनले भने। , बिहीबार दिउँसो उक्त घटना भएपछि शुक्रबार आयोजक टोली र प्रभु हेलिकप्टरका प्रतिनिधिहरू बसेर वालिङमा छलफल गरेका हुन्। कम्पनीका तर्फबाट पोखरा म्यानेजर सुजन जोशीसहित चार जना प्रतिनिधि सहभागी थिए भने आयोजकको तर्फबाट अध्यक्ष लालबहादुर ज्वार्चन थिए। , यस्तै घाइते पाइलटको उपचार पनि आयोजक टोलीले नै गरिदिने सहमति भएको छ। घाइते डंगोल अहिले पोखरास्थित आफ्नो घरमा आराम गरिरहेका छन्। प्रभु कम्पनीका अनुसार उनलाई अनुहारमा चोट लागेको छ।, हिजोको घटनामा मुख्य गल्ती यात्रुहरूबाटै देखिएको उल्लेख गर्दै मेयर खाँणले भने, 'गल्ती यात्रुहरूबाटै भएको देखिन्छ। उहाँहरूले हामी खेलको प्रमुख अतिथि हौं, त्यहाँ गएर हामीले चन्दा पनि दिने हो, त्यसैले केही हुँदैन, मैदानमा ल्यान्ड गर्नुस् भनेर भन्नुभएछ।' , तर यात्रुहरूले भने आफूहरूले नियतले उक्त काम नगरेको बताएका छन्। तीमध्येका विनोद गैरेले आफूहरूबाट गल्ती भएको स्वीकार गर्दै माफी माग्न पनि तयार रहेको बताए। , 'हामीबाट गल्ती भएको हो र हामीले महसुस गरेको पनि हो। तर यो नियतवश गरिएको होइन,' गैरेले सेतोपाटीसँग भने, 'त्यस्तो परिस्थिति आउँछ भनेर सोचिएन। त्यसैले मैले मेरो क्लबसँग माफी माग्नेदेखि सबै कुरा गर्न सहमत छु।', उनले पाइलटको कुनै दोष नरहेको पनि बताएका छन्। तर मेयर खाँणले भने पाइलटले पनि अवतरण अनुमति नलिएका कारण कमजोरी देखिएको बताएका छन्। छलफलको क्रममा यो विषय उठेको उल्लेख गर्दै पाइलटले पनि अवतरणका लागि कसैलाई खबर नगरेको पाइएको बताए। , 'मैले सिडिओ साहेबसँग पनि कुराकानी हुँदा यसबारे कुनै जानकारी नभएको बताउनुभयो,' मेयर खाँणले भने, 'आजको छलफलमा पनि यो कुरा उठ्यो। तर हेलिकप्टरका प्रतिनिधिले सबै ठाउँमा अनुमति लिइरहनु नपर्ने भन्नुभयो। त्यसपछि हामीले यसबारे थप कुरा गरेनौं।', बिहीबार दिउँसो पोखराबाट वालिङका लागि उडेको हेलिकप्टर मालेबगरस्थित फुटबल मैदानमा खेल भइरहेका बेला अवतरण भएपछि आक्रोशित केही स्थानीयले पाइलट डंगोलमाथि हातपात गरेका थिए। , हेलिकप्टरमा पाइलट डंगोल र यात्रुहरू विनोद गैरे, सुशील गिरी र खिमबहादुर राना थिए। ठेक्कापट्टामा काम गर्ने गैरेसहित सबै यात्रु वालिङकै स्थानीय हुन्। तर बिहीबार भने उनीहरू पोखरामा रहेका कारण पछि खेल हेर्न भनेर हेलिकप्टर बुक गरेर वालिङ गएका थिए।,
खेल मैदानमा हेलिकप्टर अवतरणपछि स्थानीयको कुटपिटबाट घाइते पाइलटसँग माफी मागेर सम्मान गरिने |
शेरबहादुर सिंह कञ्चनपुरमा पालिकाहरुले कराडौं रकम खर्च गर्दा पनि छाडा पशु चौपायाको यहाँ दिगो व्यवस्थापन हुन सकेको छैन्। छाडा पशु चौपायाहरु राजमार्गमा जथाभावी छाडिँदा सडक दुर्घटना हुनुका साथै पालिकालाई अझै व्यवस्थापन चुनौती यथावत नै छ।, यहाँको बेदकोटदेखि भीमदत्त नगरपालिकासम्म किसानहरुले छाडा पशुका कारण बालीनाली नै नोक्सान पुर्याएको भन्दै आक्रोश व्यक्त गरेपछि पछिल्लो समय जिल्ला समन्वय समितिमा छाडा पशु व्यवस्थापनका लागि सर्वपक्षीय छलफल गरिएको छ। विगत साढे पाँच वर्ष यता भीमदत्त, बेदकोट, शुक्लाफाँटा र कृष्णपुर लगायतका नगरपालिकाले पशु व्यवस्थापनमा करोडौं रकम खर्च गरिसकेका छन्।, कञ्चनपुरमा सामुदायिक चौपाया व्यवस्थापन जिम्मेवारी पालिकाका उपाध्यक्ष/उपप्रमुखलाई दिइएको छ। बेदकोट नगरपालिकाका नगरप्रमुख भोजराज बोहराले छाडा पशु चौपाया व्यवस्थापनका लागि वडा स्तरमै काञ्जीहाउस बनाउन लागिएको बताए।, ‘नगरपालिका छेउमै राखेर केही महिनायता छाडापशु अस्थायी रुपमा व्यवस्थापन गरिरहेका छौं’, उनले भने, ‘दोस्रो कार्यकालका लागि हामी आइसकेपछि मात्रै छाडापशु व्यवस्थापनमा साढे ५ लाख रुपैयाँ जति खर्च भइसकेको छ।’, उनले दशमध्ये आठ वडामा काञ्जीहाउस बनिरहेको बताए। ‘काञ्जीहाउस लगायतका व्यवस्थापनमा २८/३० लाख रुपैयाँजति खर्च हुने अनुमान छ’, उनले भने, ‘छाडा पशु व्यवस्थानमा पशुपालक किसानहरु पनि सहयोगी हुनु आवश्यक छ।’, बितेका साढे पाँच वर्ष यता बेदकोट नगरपालिकाको छाडा पशु चौपाया व्यवस्थापनमा १ करोड रुपैयाँ भन्दा बढी खर्च भइसकेको नगरपालिकाले जनाएको छ।, भीमदत्त नगरपालिकाले छाडा पशु चौपाया व्यवस्थापनका लागि वडा नम्बर १३ का वडाध्यक्ष रामबहादुर बोहराको नेतृत्वमा कार्यदल समेत बनाएको थियो। कार्यदलका संयोजक रामबहादुर बोहराले पशु व्यवस्थापनका लागि आवश्यक पर्ने जग्गा खोजी गरेर नगरपालिकालाई प्रतिवेदन बुझाएको बताए।, ‘हामीले यो यो ठाउँमा खाली जमिन छ। पहलका लागि आवश्यक सुझावसहित प्रतिवेदन बुझाएका छौँ’, उनले भने, ‘आजभोलिमा कहाँ व्यवस्थापन हुने हो टुङ्गो लाग्छ।’, भीमदत्त नगरपालिकामा अघिल्लो कार्यकालमा चौपाया व्यवस्थापनका लागि आवश्यक कानुनका साथै भौतिक संरचना समेत निर्माण गरिएको थियो। चौपाया व्यवस्थापनकै क्रममा भीमदत्त नगरपालिकाले छाडापशुमा ट्याग लगाउने कार्य गरेको थियो। हालसम्म भीमदत्तले ९१ लाख रुपैयाँ भन्दा बढी रकम खर्च गरिसकेको छ।, त्यसैगरी, यहाँको शुक्लाफाँटा नगरपालिकाले यहाँको वडा नम्बर ९ सिर्सैयाको बिन्द्रावन सामुदायिक वन परिसरमा छाडा पशु चौपाया व्यवस्थान गरिरहेको छ। त्यसको जिम्मेवारी नगरपालिकाबाट वडाध्यक्ष रमेश ऐरले लिएका छन्। वडाध्यक्ष ऐरले हाल बिन्द्रावन सामुदायिक छाडा पशु व्यवस्थापन केन्द्रमा साढे तीन सय पशु रहेको बताए।, ‘यहाँ ल्याएर व्यवस्थापन गरेपछि शुक्लाफाँटामा हुदै गएको छ’, ऐरले भने, ‘गौ सेवक, आहारा लगायतको व्यवस्थापनमा चालु आवमा ४० लाख रुपैयाँ दिएको छ। विगत दुई वर्ष यता पशु व्यवस्थापनमा जुटेका छौँ।’, ‘अर्गानिक मल उत्पादनदेखि, दुग्ध उत्पादनदेखि छाडा गोरु छाड्नेलाई कारबाही गर्नेसम्मको कार्यविधि बनाएको छ’, उनले भने, ‘अरु पालिका भन्दा व्यवस्थापनमा हामी अघि छौं।’, उनले गौशालालाई सुदूरपश्चिमकै अध्ययन केन्द्र बनाउने योजना रहेको बताए। उनले विगत वर्ष यता वार्षिक ४० लाख रुपैयाँ नगरपालिकाले पशु व्यवस्थापनमा खर्च गरिरहेको जानकारी दिए।, छाडा पशु व्यवस्थापनमा ठूलो धनराशि खर्च भइसक्दा पनि दिगो व्यवस्थापन नहुँदा बेलाबखतमा स्थानीय किसान आक्रोशित हुँदै आएका छन्। कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझाले आफू र छिमेकी लालझाडी पालिकासित मिलेर समेत छाडा पशु व्यवस्थापन गरिरहेको जानकारी दिए।, ‘हाम्रो पालिकामा पर्ने वनहरादेखि मोहना चोकसम्म राजमार्गमा मुश्किलले अब छाडा पशु देख्नु हुन्छ’, उनले भने, ‘यहाँका धेरै ठाउँमा काञ्जी हाउस बनाएर करिब एक हजारदेखि एघार सय चौपायाको व्यवस्थान गरिहेको छ।’, उनले आफूहरु जनप्रतिनिधि भएर आइसकेपछि चौपाया व्यवस्थापनमा दश लाख रुपैयाँको हाराहारीमा खर्च भएको बताए। चार वर्षअघि कञ्चनपुरमा छाडा पशु व्यवस्थापनको विषय अदालतसम्म पुगेको थियो। महेन्द्रनगरका अधिवक्ता गजेन्द्रबहादुर रावलले यहाँका पालिकालाई विपक्षी बनाएर उच्च अदालतमा मुद्दा दायर गरेपछि उच्च अदालत महेन्द्रनगर इजलासले चौपाया व्यवस्थापन गर्न परमादेश समेत जारी गरेको थियो।,
कराडौं खर्च हुँदा पनि छाडा पशुको दिगो व्यवस्थापन भएन |
सेतोपाटी संवाददाता यतिबेला काठमाडौं शहरका मुख्य रात्रीकालीन व्यापार, व्यवसाय हुने ठाउँहरु उज्यालोले धपक्क बलेको छ।, बिजुलीको पर्याप्ततासँगै शहर रंगीचंगी उज्यालोले झकिझकाउ छ। शहरका चोक, गल्लीहरु र रात्रीकालिन व्यापार व्यवसाय सञचालन हुने ठाउँमा सडक र भवनहरु यतिबेला धपक्क बलेको देख्न सकिन्छ।, मठ मन्दिरहरुमा बिजुली बत्तीको चमक छरपस्ट छ। मन्दिर, व्यापारिक भवन र काठमाडौंको दरबार मार्ग, वसन्तपुर दरबार क्षेत्र, न्युरोड लगायतका सडकहरु नै रंगीचंगी बत्तीले चम्किरहेका देख्न सकिन्छ।, अहिले बत्ती प्रशस्त भएर बिजुली खेर गइरहेको अवस्थामा बत्तीको खपत बढीरहेको पनि छ। बत्तीको प्रकाशले मन्दिरहरू धपक्क बलेका देखिन्छन्।, जसकारण पनि साँझको समयमा काठमाडौंका यी ठाउँहरुको दृश्य हेर्न लायक बन्छ। आजको फोटो फिचरमा ,न्युज एजेन्सी नेपाल,का फोटो पत्रकारले खिचेका साँझमा मुस्कुराएको काठमाडौंका यी मनमोहक तस्बिरहरू।, ,
,
साँझमा मुस्कुराएको काठमाडौं (फोटो फिचर) |
सेतोपाटी संवाददाता काठमाडौंको कोटेश्वरमा कोइला बालेर सुत्दा चार जना अचेत अवस्थामा फेला परेका छन्।, शुक्रबार राति ८ बजे काठमाडौं महानगरपालिका-३२ कोटेश्वर सहयोगीनगरस्थित कुमार खत्रीको ५ तले घरमा चार जना निस्सासिएर अचेत अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीले जानकारी दिए। , पाँचौं तलामा कोठाको झ्याल ढोका बन्द गरी कोइला बालेर आगो ताप्नेक्रममा त्यहाँ रहेका चार जनालाई एक्कासि स्वासप्रस्वासमा समस्या आउँदा निस्सासिएका थिए। सोही घरमा बस्नेले थाहा पाएपछि ढोका खोलेर हेर्दा उनीहरू अचेत अवस्थामा फेला परेको एसएसपी कार्कीले बताए। , ‘३५ दिनको बच्चा पनि थियो। जाडो भएको हुनाले मकल बालेका रहेछन्। नजिकैका एक जनाले देखेपछि अस्पतालमा पुर्याए,’ उनले भने, ‘गुम्सिएपछि कोठामा अक्सिजनको कमी भएर निस्सासिँदै जान्छ।’, ९० वर्षीय छलमाया खत्री, ७० वर्षीय सिलमाया कटुवाल, २४ वर्षीय प्रमिला खत्री र ३५ दिनका छोरा श्रीयाल खड्का अचेत अवस्थामा फेला परेका हुन्। , उनीहरूलाई तत्कालै उपचारको लागि बानेश्वरस्थित सिभिल अस्पतालमा पुर्याएको थियो। उनीहरूको आइसियूमा उपचार भइरहेको छ।, यस्तै सिभिलमा आइसियू खाली नभएपछि छलमायाको थप उपचारको लागि छाउनीस्थित नेपाली सेनाको अस्पतालमा रिफर गरेको हो।, प्रहरीले कोठाभित्र मकल, हिटर बालेर नसुत्न अनुरोध गरेको छ। , जिल्ला प्रहरी परिसर काठमाडौंले कोठा भित्र हिटर, मकल, फलामका चुलो, कराईहरूमा दाउरा/ कोइला बालेर नसुत्न अनुरोध गरेको हो। , 'चिसो बढिरहेको हुँदा यसबाट जोगिन अपनाइने हिटर, कोइला बाली कोठा तातो बनाउने कार्यबाट कोठाको सम्पुर्ण अक्सिजन नष्ट हुन्छ,' परिसरले भनेको छ, 'त्यसपछि कार्बन मोनोअक्साइड समेत बनेर कोठाभित्र मानिसको सुरूमा टाउको दुख्ने, वाकवाकी लाग्ने, रिंगटा लाग्ने, निस्सासिएर बेहोस हुने र पछि थाहै नपाई निधन समेत हुने गरेको छ।', त्यसैले घरबाट बाहिर निस्किँदा कहिले पनि बन्द कोठामा हिटर अन नगर्न प्रहरीले अनुरोध गरेको छ। ढोका झ्यालमा बोरा, कपडा राखेर हिटरलगायत उपकरण नबाल्न, चुलो मकल, फलामका चुलो, कराइहरूमा दाउरा/कोइला बाली रातभर कोठाभित्र नराख्न अनुरोध गरिएको छ। , त्यसैगरी झ्याल/ढोका बन्द गरी ग्यास गिजरको पनि प्रयोग नगर्न भनिएको छ।, विद्युतीय उपकरणहरूका स्विच, मल्टिप्लगहरूलाई काम सकिएपछि बन्द गर्न, ग्यासको सिलिन्डरलाई कोठाभन्दा बाहिर राख्न र काम सकिएपछि बन्द गर्न प्रहरीले अनुरोध गरेको छ। ,
कोटेश्वरमा कोइला बालेर सुत्दा चार जना अचेत फेला, आइसियुमा उपचार हुँदै |
सेतोपाटी संवाददाता बैदेशिक रोजगारी तथा अध्ययनका लागि जानेहरूमाथि ठगी भएको गुनासोपछि त्यसबाट जोगिन प्रहरीले अनुरोध गरेको छ। , जिल्ला प्रहरी परिसर काठमाडौंले एक सूचना जारी गर्दै ठगी गर्ने गिरोहहरूबाट जोगिन अनुरोध गरेको हो। , ठगी गर्ने गिरोहले ह्वाट्सएप लगायत सामाजिक सञ्जालमा विदेश पठाइने भन्दै विज्ञापन प्रकाशन गर्ने र त्यसमार्फत कुनै पनि व्यक्तिलाई सम्पर्क गर्ने गरेको छ। , परिसरका अनुसार विदेश पठाइदिने भन्दै गिरोहले पीडित व्यक्तिको राहदानी, नागरिकता लगायत कागजात लिने गरेको छ। त्यस्तै विदेश जान रकम आवश्यक हुने हुँदा आफ्नो खातामा रकम जम्मा समेत गर्न लगाउने गिरोहको शैली छ। , त्यसपछि सम्बन्धित खातावाला व्यक्तिको नागरिकता र राहदानी समेत लिएर ती पीडित व्यक्तिकै नामबाट पूरानो सिम हराएको भनी नयाँ सिम लिने गरेको परिसरले जनाएको छ। , त्यसरी नयाँ सिम लिएर बैंकिङ एप्स डाउनलोड गरी ओटिपी कोड लिएर खातामा अनधिकृत रूपमा पहुँच पुर्याउने गरेको हो।, पीडितलाई थाहा नै नदिइ खातामा रहेको पैसा निकालेर ठगी गर्ने गरेको पाइएको भन्दै यस्ता ठगी गिरोहलाई निरूत्साहित तथा कारबाही गर्न जिल्ला प्रहरी परिसर काठमाडौंले सचेत रहन अनुरोध गरेको हो।, परिसरले यस्ता घटनाबाट जोगिन कुनै पनि एप्स वा लिंकमा क्लिक नगर्न पनि भनेको छ। त्यस्ता एप्स वा लिंकमा फिसिङ हुने सम्भावना हुने परिसरले बताएको छ। , सामाजिक सञ्जालमा व्यक्तिगत पहिचान नखुलेका व्यक्तिहरूलाई नागरिकता, राहदानी लगायत कागजात नदिन पनि प्रहरीले अनुरोध गरेको छ।, प्रहरीले इबैंकिङ, मोबाइल बैंकिङ सञ्चालनमा रहेको मोबाइल नम्बर अरूलाई चलाउन नदिन भनेको छ।, त्यस्तै बैदेशिक रोजगार तथा अध्ययनमा जाँदा सरकारबाट इजाजत प्राप्त निकायमार्फत मात्रै प्रक्रिया अगाडि बढाउन अनुरोध गरेको छ। , आफ्नो चेक बुकलाई पनि सुरक्षित गरी राख्न र खातामा रकम नभएको अवस्थामा चेक काटेर नदिन पनि अनुरोध गरेको छ। ,
बैदेशिक रोजगारमा जानेलाई ठगीबाट जोगिन काठमाडौं प्रहरीको अनुरोध |
रासस कम्बोडियाको आगलागी घटनामा परी मृत्यु भएका विर्तामोड नगरपालिका–१ का निराकार पाण्डेको शव आज झापास्थित निवासमा ल्याइएको छ।, कम्बोडियाको ग्राण्ड डायमन्ड सिटी होटल एन्ड क्यासिनोमा गत पुस १४ गते राति भएको भीषण आगलागीमा ज्यान बचाउन १२औं तलाको झ्यालबाट हाम्फाल्दा उनको मृत्यु भएको थियो।, शुक्रबार कम्बोडियाबाट काठमाडौं ल्याइएको उनको शव आज दिउँसो १२ः३० बजेतिर विर्तामोडस्थित निवासमा पुर्याइएको हो। युवा व्यवसायी पाण्डे भिजिट भिसामा थाइल्यान्ड र कम्बोडिया गएका उनको मृत्यु भएको थियो। उनको शव निवासमा ल्याइने खबर थाहा पाएर आज बिहानैदेखि पाण्डे निवासमा हजारौं शुभचिन्तकको भीड लागेको थियो।, मृतक पाण्डे विर्तामोड–१ का वडाध्यक्ष अग्नि पाण्डेका छोरा हुन्। पाण्डेको शव ल्याउन नेपाल सरकारले सहयोग गरेको छ। , घटना लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाण्डेको मृत्युमा गहिरो शोक व्यक्त गर्दै शव ल्याउन सरकारले सहयोग गर्ने बताएका थिए। आजै कनकाइ माईमा स्व. पाण्डेको अन्त्येष्टि गरिने जनाइएको छ। ,
कम्बोडियाबाट झापा ल्याइयो निराकारको शव |
रासस सुर्खेत वीरेन्द्रनगरमा एक युवक मृत फेला परेका छन्।, वीरन्द्रनगर नगरपालिका–११ मा आज बिहान साढे ८ बजेको समयमा एक युवक मृत फेला परेको प्रहरीले जनाएको छ।, घरदेखि करिब पाँच सय मिटर टाढा वीरेन्द्रनगरबाट लेकबेँसी जाने भित्री सडकमा सोही ठाउँ बस्ने ३५ वर्षीय चन्द्रबहादुर खड्का बाँसको घारीमा मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब निरीक्षक सुरज कार्कीले बताए।, मोटरसाइकल पार्किङ गरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। उनको शव देखेपछि स्थानीयले प्रहरीलाई बोलाएका थिए।, घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। ,
वीरेन्द्रनगरमा एक युवक मृत फेला |
सेतोपाटी संवाददाता ललितपुरको भैंसेपाटीमा एक टहरामा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। , शनिबार बिहान साढे ३ बजे ललितपुर महानगरपालिका-२५ भैंसेपाटीस्थित फूलबारी मार्गमा रहेको एक टहरामा आगलागी भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी प्रविण पोखरेलले जानकारी दिए। , दुर्गा श्रेष्ठको जग्गामा टहरा बस्दै आएका एक जना महिलाको मृत्यु भएको हो। , धनकुटा घर भई हाल उक्त टहरामा बस्दै आएकी ३९ वर्षीय नम्रता राईको मृत्यु भएको एसपी पोखरेलले बताए। उनी उक्त टहरामा एक्लै बस्दै आएकी थिइन्। , उनका अनुसार टहरामा पूर्ण रूपमा क्षति पुगेको छ।, बिजुली सर्ट भएको हो कि भन्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको उनले बताए। , ललितपुर पुल्चोकबाट गएको दमकल र स्थानीय प्रहरीको सहयोगमा बिहान ४ बजे आगो नियन्त्रणमा लिइएको थियो। , बिहान ९ बजे पोष्टमर्टमको लागि शव पाटन अस्पताल पुर्याएको छ। , प्रारम्भिक अनुमान अनुसार आगलागीबाट अन्दाजी साढे १ लाख बराबरको क्षति पुगेको छ। , घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।, ,
ललितपुरको भैंसेपाटीमा आगलागी हुँदा एक जनाको मृत्यु |
सेतोपाटी संवाददाता नाबालिग बलात्कार आरोप लागेका अभिनेता पूर्णविक्रम शाह ‘पल शाह’लाई जिल्ला अदालत तनहुँले सफाइ दिएको छ। , पलले सफाइ पाएको फैसला तयार हुन समय लाग्ने जिल्ला अदालतका स्रेस्तेदार मिनबहादुर कुँवरले बताए। , उनले भने, ‘जिल्ला न्यायाधीश ज्यूले इजलासमा दुवैतर्फका बहस सुनेपछि पल शाहले सफाइ पाउने ठहर गर्नुभएको छ, फैसला तयार हुन समय लाग्छ।’, यो फैसलाविरूद्ध सरकारी वकिलको कार्यालय तनहुँ उच्च अदालत पोखरामा पुनरावेदन जाने भएको छ। , ‘पल शाहले सफाइ पाएको मिडियाबाट थाहा पाएँ,’ तनहुँका जिल्ला न्यायाधिवक्ता गोविन्दप्रसाद उपाध्यायले सेतोपाटीलाई भने, ‘सामान्यतया अब हामी उच्च अदालतमा पुनरावेदन गर्छौं।’ , जिल्ला अदालतका न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासमा पीडितका पक्षबाट जिल्ला न्यायाधिवक्ता उपाध्यायले मात्र बहस गरेका थिए। , पीडित नाबालिग 'होस्टाइल' भएर अदालतमा बकपत्र गर्दा बयान फेरेकी थिइन्।, उनले गत वैशाख ४ गते तनहुँ जिल्ला अदालतमा बकपत्र गर्दा आफूमाथि बलात्कार नभएकाले पललाई रिहा गर्नुपर्ने बताएकी थिइन्। , ‘पीडितले होस्टाइल भएर होइन भनेकी थिइन्, यो व्यक्तिलाई सजाय हुन हुँदैन भनेकी थिइन्,’ उपाध्यायले भने, ‘मैले राज्यका तर्फबाट यी कारणले सजाय हुनुपर्छ भनेर आज बहस गरेको थिएँ।’, जिल्ला अदालत तनहुँमा मंगलबार भएको बहसमा पीडितका तर्फबाट उपाध्यायले मात्र बहस गरेका थिए।, उनले बहसमा पीडक भनिएका पललाई सजाय हुनुपर्ने माग राख्दै शारीरिक परीक्षण, परिस्थितिजन्य प्रमाण, पीडितको उमेर लगायत अन्य कागजात पेश गरेका थिए। , ‘मैले पीडकलाई सजाय हुनुपर्ने माग राखेर सर्वोच्च अदालतका विगतका नजिर र तथ्यगत प्रमाणहरू पेश गरेको थिएँ। पीडित होस्टाइल भए पनि पलले बलात्कार गरेको पुष्टि हुने आधार छन् भन्ने हो,’ उनले भने।, यता, पलका तर्फबाट भने बरिष्ठ अधिवक्ता कमलामोहन काले, कृष्णबहादुर थापा, परशुराम गिरी, अधिवक्ता भानुभक्त सुवेदी र माधव घिमिरेले बहस गरेका थिए।, पल शाहका तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता काफ्लेले घटना भएको भनिएको दिन अलग-अलग कोठामा सुतेको, भोलिपल्ट सँगसँगै ढोरबाराही मन्दिर दर्शन गर्न गएको, एउटै गाडीमा काठमाडौं फर्केको लगायतका कारण देखाउँदै बलात्कार हुन नसक्ने जिकिर गरेका थिए।, घटनामा साक्षी बसेका १८ जनाले पनि बलात्कार नभएको भनेको र पीडित भनिएकी नाबालिगले पनि अदालतमा बकपत्र गर्दा बलात्कार नभएको बताएकाले पलले सफाइ पाउनुपर्ने काफ्लेले जिकिर गरेका थिए।, नाबालिगले २०७८ वैशाख १४ गते तनहुँमा आफूमाथि पल शाहले बलात्कार गरेको भन्दै तनहुँ प्रहरीमा गत फागुन ११ गते जाहेरी दिएकी थिइन्।, यस्तै, सुटिङमा जाँदा नवलपुरमा पनि बलात्कार गरेको भन्दै पीडितले फागुन १५ गते नवलपुर प्रहरीमा जाहेरी दिएकी थिइन्। , नवलपुर जिल्ला अदालतले पनि पललाई सफाइ दिने फैसला गरिसकेको छ।, नवलपुरका जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले पललाई बलात्कार अभियोगबाट सफाइ दिँदै बाल यौन दुर्व्यवहारको आरोपमा २ वर्ष ६ महिना कैद सजाय र २५ हजार जरिवाना फैसला भएको थियो।, अदालतले पीडित नाबालिगलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनसमेत आदेश भएको थियो।, उक्त फैसलाविरूद्ध पलले उच्च अदालत पोखरामा पुनरावेदन दिएका छन्। पुनरावेदनमा चलिरहेको उक्त मुद्दा किनारा नलाग्दासम्म पल कारागारमै रहने अदालतले जनाएको छ।,
तनहुँका जिल्ला न्यायाधिवक्ता भन्छन्-पल शाहले सफाइ पाएको मिडियाबाट थाहा पाएँ, उच्च अदालत जान्छौं |
सेतोपाटी संवाददाता भोलि बिहीबारबाट सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशलगायत पहाडी भू-भागमा बदली भई हिमपातका साथै वर्षा पनि हुने सम्भावना रहेको छ। , जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि मौसम बदली भएको छ। पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभावका कारण मौसम बदली भएको हो।, आज गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमामा आंशिक बदली रहेको छ । तराईका केही भु-भागमा हुस्सु/कुहिरो लागेको छ र बांकी भू-भाग सामान्यतया सफा छ ।, महाशाखाका अनुसार आज कर्णाली प्रदेश,गण्डकी प्रदेश र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू-भागहरुका केही ठाउँमा दिउँसो र राति हिमपात हुने सम्भावना छ ।,
भोलिदेखि नेपालमा पानी पर्ने सम्भावना |
सेतोपाटी संवाददाता वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रूइतलाई ‘मानवता सेवाका लागि इसा पुरस्कार’ प्रदान गरिने भएको छ।, बहराइन सरकारले हरेक दुई वर्षमा प्रदान गर्दै आएको स्वर्ण पदक र १० लाख डलर राशीको उक्त प्रतिष्ठित पुरस्कार यस वर्ष नेपाली डा. रूइतलाई दिने भएको हो।, यो पुरस्कार विपत् रोकथाम र राहत, शिक्षा र मानव सहिष्णुतालगायत ११ वटा विधामध्येबाट प्रदान गरिन्छ। , पुरस्कारका लागि यस वर्ष मनोनीतहरूमध्ये डब्ल्यूएचओ फाउन्डेसन पनि रहेकोमा निर्णायकहरूले डा. रुइतलाई छनोट गरेका थिए।, , , , , View this post on Instagram, , , , , , , , , , , , A post shared by Isa Award (@isa_award), मोतीबिन्दुको शल्यक्रिया गरी एसिया र विश्वका अन्य भागमा एक लाख ८० हजारभन्दा बढी मानिसलाई दृष्टि दिन मद्दत गरेका आधारमा डा. रुइतलाई पुरस्कार प्रदान गरिएको ,गल्फ न्युज,ले जनाएको छ ।, उक्त घोषणा गर्दै बहराइनका राजाका विशेष प्रतिनिधि र बोर्ड अफ ट्रस्टिजका अध्यक्ष शेख मोहम्मद बिन मुबारक अल खलिफाले यस वर्ष अवार्डका लागि १३९ मनोनयनमा परेको जानकारी दिए। ‘नेपाली नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतलाई उहाँको समुदायको सेवा र उपलब्धिका लागि सम्मान गरिएको छ,’ उनले भने।, मानवताको सेवाका लागि इसा अवार्डका महासचिव अली अब्दुल्लाह खलिफाले डा. रुइतलाई मोतीबिन्दुको उपचारमा अभिनव दृष्टिकोण राखेर उक्त पुरस्कार प्रदान गरिएको बताए।, यसैबीच डा. रुइतले ‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ संस्थाले आफूलाई उक्त अवार्ड प्रदान गर्न लागेको जानकारी दिए। उनले आफूले आँखा स्वास्थ्यमा काम गरेबापत अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्नु आफ्नो व्यक्तिगत रूपमा नभई समग्र राष्ट्रको गौरवको विषय भएको बताए।,
डा. रूइतलाई १० लाख डलर राशीको प्रतिष्ठित इसा पुरस्कार |
रासस हात्तीको आक्रमणबाट सुनसरीको बराहक्षेत्र नगरपालिका–५ सिमरवनस्थित जनजागृति सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रमा एक वृद्धको मृत्यु भएको छ।, वडा नम्बर ५ का स्थानीय ६५ वर्षीय धनबहादुर माझीको हात्तीको आक्रमणबाट मृत्यु भएको हो।, जङ्गलमा घाँस काट्न गएका माझीलाई मंगलबार बिहान ११ बजे हात्तीले आक्रमण गरी मारेको वडाध्यक्ष रोहित काफ्लेले जानकारी दिए।, एक महिनादेखि धरान र बराहक्षेत्र नगरबीचको चारकोसे जङ्गलमा ठूलो समूहमा हात्ती आएर बस्दै आएका छन्। रातको समयमा हात्तीको बथान नजिकैको चारकोसे जङ्गलबाट गाउँ प्रवेश गर्ने गरेको स्थानीयवासी बताउँछन्। ,
घाँस काट्न गएका वृद्धको हात्तीको आक्रमणबाट मृत्यु |
सेतोपाटी संवाददाता पोखरामा यही माघ १ गते यती एयरलाइन्सको नाइन एन एएनसी एटिआर–७२–५०० विमान दुर्घटनामा मृत्यु भएका विमानका पाइलट कमल केसीको अर्धकदको शालिक निर्माण गरिने भएको छ।, कास्कीको रुपा गाउँपालिकाले केसीको स्मरणमा शालिकसहित उद्यान निर्माण गरी दुर्घटनामा निधन भएका ७२ जनाको शिलालेखमा नाम समावेश गर्ने निर्णय गरेको हो। स्व केसी रुपा गाउँपालिका–३ पोल्याङ निवासी हुन्। गाउँपालिकाले उनलाई २०७८ सालमा रूपारत्न सम्मानबाट समेत सम्मान गरेको थियो। केसी गाउँपालिकाको पहिलो पाइलट एवं प्रशिक्षक हुन्।, गाउँपालिका अध्यक्ष नवराज ओझाले पाइलट केसीको मृत्युले गाउँपालिकालाई अपूरणीय क्षति पुगेको बताए। मंगलबार बसेको गाउँ कार्यपालिका बैठकले केसीको शालिकसहित उद्यान निर्माण गर्ने, शिलालेखमा नाम समावेश गर्ने र स्थानीय पाठ्यपुस्तकमा केसीका बारेमा समावेश गराउने निर्णय गरेको हो ।, केसीले अमेरिकाबाट पाइलट कोर्स पढेर आएका थिए। उनले २०४६ सालमा नेपाल वायु सेवा निगमबाट आफ्नो पेसाको सुरूआत गरेका थिए। पछिल्लो समय केसी यती एयरलाइन्समा आबद्ध थिए। केसीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो परीक्षण उडानसमेत गरेका थिए।, यही माघ १ गते काठमाडौंबाट पोखरा आउँदै गरेको यती एयरलाइन्सको जहाज पोखरा विमानस्थल नजिक सेती नदीको खोँचमा दुर्घटना हुँदा ७२ जनाको निधन भएको छ। दुर्घटनामा परेकाहरूमध्ये अझै एक जनाको शव प्राप्त हुनसकेको छैन। ,
पाइलट केसीको शालिकसहित उद्यान निर्माण गरिने |
सेतोपाटी संवाददाता आइतबार पोखरामा भएको यती एअरलाइन्सको विमान दुर्घटनामा परेर ज्यान गुमाएकामध्ये ४८ जनाको शव काठमाडौं ल्याइएको छ। अरू शव पहिचान गरी पोखराबाटै आफन्तलाई बुझाइँदैछ।, काठमाडौंबाट ६८ यात्रु र चालकदलका चार सदस्य लिएर पोखराका लागि उडेको विमान धावनमार्गनजिकै सेती नदीको खोँचमा खसेको थियो।, मंगलबार साँझसम्म ७१ जनाको शव भेटिए पनि अझै एक जना हराइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक खड्कबहादुर खत्रीले जानकारी दिए।, मंगलबार दिउँसो थप एक महिलाको शव भेटिएको उनले जानकारी दिए। ‘बेपत्ता दुई जना मध्ये एक जना महिलाको शव भेटिएको छ। सेतीको पानीको बहाव घटाएसँगै एक जनाको शव भेटियो,’ उनले भने,‘थप एक जनाको खोजी आज बिहानैबाट सुरू भएको हो।’, सेती नदीको पानीलाई याम्दीको पुलबाट सिँचाइका लागि बनाइएको नहरमा हालिएपछि पानी घटेको हो।। , नदीको पानी घटाइएसँगै मंगलबार गोताखोरसहित ड्रोनको प्रयोग गरी शवको खोजी गर्दा सेती खोँच दुर्घटनास्थलभन्दा करिब ७ सय मिटर तल पानीमा एक महिलाको शव भेटिएको थियो। , दुर्घटनाको पहिलो दिन ६३ र दोस्रो दिन सोमबार ७ र मंगलबार १ जनाको गरी ७१ वटा शव फेला पारिएको प्रहरी उपरिक्षक खत्रीले जानकारी दिए। अब एकजनाको मात्र अवस्था अज्ञात रहेको छ । , विमानमा चार जना चालक दलका सदस्य सहित ५३ जना नेपाली र बाँकी १५ जना विदेशी यात्रु थिए।,
प्रक्रिया पुर्याएर शव आफन्तलाई हस्तान्तरण गरिँदै, अझै वेपत्ता एक जनाको खोजी जारी |
सेतोपाटी संवाददाता पोखरामा भएको यती एयरलाइन्सको नाइन एन–एएनसी–एटीआर–७२–५०० विमान दुर्घटनामा परेकामध्ये २२ जनाको शव उनीहरुका परिवारजनलाई बुझाइएको छ। , पोखरामा परीक्षण गरिएका सबै शव आफन्तले बुझेका कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले जानकारी दिए। उनका अनुसार मंगलबार भेटिएको शव पनि परीक्षणका लागि काठमाडौँ पठाउने तयारी भइरहेको छ।, दुर्घटनामा परेका एक जनाको स्थिति अझै अज्ञात छ। यसअघि मंगलबार नै ४८ शवलाई काठमाडौँस्थित शिक्षण अस्पताल पुर्याइएको थियो।, पहिचान र सनाखत हुन नसकेका, विदेशी नागरिक र चालकदलका सदस्यको शव काठमाडौंमा परीक्षण हुनेछ। शव क्षतविक्षत भएका कारण पहिचानका लागि डिएनए परीक्षण गर्नुपर्ने भएकाले आफन्तले शव पाउन अझै केही दिन लाग्ने देखिएको छ।, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक अजय केसीले दुर्घटनामा बेपत्ता एक व्यक्तिको खोजीकार्य भइरहेको बताए। मंगलबार पनि दिनभर गोताखोर र ड्रोन प्रयोग गरेर शवको खोजी गरिएको थियो। सेती नदीको पानीको सतह घटाएर खोजी गर्दा दुर्घटनास्थलभन्दा दुई किलोमिटर तल एउटा शव फेला परेको हो।, ‘सोमबार शव खोज्दा हात, करङ र टाउकाको भाग छुट्टाछुट्टै भेटिएको थियो, त्यो दुई व्यक्तिको हो वा एउटैको हो, पत्ता लागाउने काम भइरहेको छ’, उनले भने।, ६८ यात्रुसहित चार चालकदलका सदस्य लिएर आइतबार काठमाडौँबाट पोखराका लागि उडेको जहाज सेतीखोँचमा खसेको थियो। ,
पोखरा जहाज दुर्घटना : २२ शव आफन्तलाई बुझाइयो |
सेतोपाटी संवाददाता माघ १ गते पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा परी ज्यान गुमाएका उत्तर प्रदेशका ४ जनालाई त्यहाँको सरकारले ५ लाख भारू (८ लाख) राहत दिने भएको छ।, समाचार एजेन्सी पिटिआईका अनुसार उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले चारै जनाका परिवारलाई राहतस्वरूप उक्त रकम दिने घोषणा गरेका हुन्।, उत्तर प्रदेशको गाजीपुर जिल्ला ती चार साथीहरू घुम्न नेपाल आएका बेला दुर्घटनामा परेका थिए।, उक्त दुर्घटनामा गाजीपुरका अभिषेक कुशवाहा, विशाल शर्मा, अनिलकुमार राजभार र सोनु जैसवालको मृत्यु भएको थियो।, भारतीय अर्को राज्य विहारका सञ्जय जैसवालको पनि उक्त दुर्घटनामा परेका थिए।, काठमाडौंबाट पोखराका लागि उडेको जहाजमा ६८ यात्रु र ४ जना चालक दलका सदस्य थिए। अहिलेसम्म ७१ जनाको शव फेला परेको छ भने १ जनाको खोजी भइरहेको छ।,
पोखरा जहाज दुर्घटनामा ज्यान गुमाएका आफ्ना नागरिकका परिवारलाई योगी सरकारले ८-८ लाख रुपैयाँ दिने |
सुशीला रेग्मी कालीगण्डकी नदी ऐतिहासिक धार्मिक तथा पौराणिक एवं पर्यटकीय सभ्यता बोकेको नदी हो। दामोदर कुण्डबाट बहेकी कालीगण्डकी नदीको महत्व र पर्यटन विकासका विषयमा बेला–बेलामा बहस हुने गरेका छन्।, नेपालमा कालीगण्डकीको सभ्यता निकै पुरानो मानिन्छ। धार्मिक महत्व बोकेकाले पनि नदीको पानीलाई जोडेर विकासका नाममा एकपक्षीय खेलवाड गर्न नहुने सरोकारवालाको तर्क छ। पाल्पाको राम्दीमा नदी डाइभर्सन र नवलपुरको बुलिङ्टार गाउँपालिकाको खाल्डेमा करिब पाँच सय वाट क्षमताको विद्युत निकाल्ने योजनाको विरूद्ध प्रभावित क्षेत्रका स्थानीय तथा सरोकारवाला, राजनीतिक दल, सांसद, समाजसेवी, बुद्धिजीवीले त्यसको विरोधमा ऐक्यबद्धता जनाउँदै सो योजना अगाडि बढ्न नदिनेमा जोड दिइएको छ।, नदीको माथिल्लो भाग (राम्दी क्षेत्र) मा डाइभर्सन गर्ने योजना र तलको भाग (खाल्डे) मा विद्युत प्राधिकरणले हाइड्याम बनाएर विद्युत उत्पादन गर्ने कार्यक्रम ल्याएकामा यसले सो ठाउँको आसपास तथा मध्यभागमा बसोबास गर्ने स्थानीयवासीलाई नराम्रो असर पार्ने भएकाले नदीलाई आफ्नै गतिमा बहन दिनुपर्नेमा चासो र चिन्ता व्यक्त गरिएको छ।, कालीगण्डकी नदीको आफ्नै धार्मिक महत्व र विशेषता रहेता पनि यस नदी डाइभर्सनका प्रक्रियाले प्रभावित क्षेत्रका बासिन्दामा सधैं पिरोल्ने गरिरहेको हुन्छ।, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको सीमा भएर बहेको कालीगण्डकी नदीको पर्यावरण, धार्मिक अस्तित्व, यसको पर्यटन विकास, सभ्यता जोगाउन सरोकारवालाले माग गरिरहेका छन्।, पवित्र धार्मिक ऐतिहासिक तथा पर्यटकीय क्षेत्र केलादीधाममा कालीगण्डकीको संरक्षण र सभ्यता जोगाउँदै पर्यटन प्रवर्द्धनसम्बन्धी लुम्बिनी र गण्डकी प्रदेशका सरोकारवालाबीच भएको बृहत् अन्तर्क्रिया कार्यक्रममा नदीलाई कुनै पनि हालतमा तोडमोड गर्न नहुनेमा जोड दिइएको छ।, गण्डकी प्रदेश सरकारका पूर्वआर्थिक मामिला तथा योजनामन्त्री किरण गुरूङले कालीगण्डकी नदीका कारण धेरै धार्मिक तथा सांस्कृतिक धरोहर बनेको बताए। विश्वमा नै छुट्टै पहिचान बनाएको यस नदीको सभ्यता र पर्यावरणलाई जोगाएर संरक्षण गर्नुपर्ने उनले बताए।, 'यसको महत्व अन्य नदीको तुलनामा बेग्लै छ, यो नदी भनेकै प्रकृति हो, यससँग सम्बन्धित नदीका सबै कुरालाई अध्ययन, अनुसन्धान गर्दै यसको महत्वलाई उजागर गर्नुपर्नेछ', उनले भने, 'यसको तटीय क्षेत्रमात्र नभई प्रशोधन क्षेत्रका हरेक नागरिक जागरूक हुनु आवश्यक छ, डाइभर्सनको विरूद्धमा लगातार विरोधका कार्यक्रम भइरहेका छन् तर डाइभर्सनको प्रक्रिया रोकिएको छैन।', गएको आर्थिक वर्षदेखि नै यसको विस्तृत सम्भाव्यता अध्ययन (डिपिआर)को चरण अगाडि बढेको जानकारी गराउँदै पूर्वमन्त्री गुरूङले त्यसका लागि केन्द्रीय सरकारले बजेट विनियोजनसमेत गरेको जानकारी गराए।, कालीगण्डकी नदीलाई कुनै पनि हालतमा डाइभर्सन हुन नदिने पक्षमा आफू लागिरहेको बताउँदै उनले प्रभावित क्षेत्रका प्रत्येक घरका नागरिक यसको विरूद्धमा जागरूक भएर लाग्नुपर्ने बताए।, लुम्बिनी प्रदेशसभा सदस्य राजुप्रसाद श्रेष्ठले कालीगण्डकी नदी डाइभर्सनको पक्षमा प्रभावित क्षेत्रमा कोही पनि नरहेको उल्लेख गर्दै कालीगण्डकी करिडोर र शालिग्राम करिडोर यस नदीसँग जोडिएकाले कालीगण्डकीबेंसीका क्षेत्रलाई समेटेर एउटा रिङरोड बनाइनुपर्ने बताए।, उनी भन्छन्, 'यस नदीलाई जोगाउन राम्दीबाट देवघाटसम्म जल यातायात सञ्चालन गर्ने, राम्दीबाट देवघाट क्षेत्रमा पर्ने प्रभावित क्षेत्रका ११ पालिकाको बृहत् छलफल गरेर योजनाबद्ध तरिकाले अगाडि बढ्नुपर्ने, लुम्बिनी प्रदेश सरकारबाट नदी डाइभर्सन हुन नदिन मेरो पूर्ण साथ र सहयोग रहनेछ।', पाल्पाको राम्दीबाट देवघाटसम्म एक ठाउँमा कालीगण्डकी उत्तर दिशातर्फ बगेकाले यसलाई उत्तरवाहिनी नदी पनि भनिन्छ। यो नदीलाई शालग्रामी नदी, कालीनदी र काली आदिजस्ता नामबाट पनि चिन्ने गरिन्छ। यस नदीको जल स्पर्श गरेमा मात्र पनि मानव शरीर पवित्र हुन्छ भने यहाँ स्नान, दान, तप, तर्पण, श्राद्ध आदि जस्ता कार्य गरेमा असङ्ख्य फल प्राप्ति हुन्छ र अन्तमा मोक्ष प्राप्ति हुन्छ भन्ने मान्यता छ।, यस क्षेत्रमा मनाइने विभिन्न पर्व जस्तै वैशाखे सङ्क्रान्ति, जनै पूर्णिमा, श्रावण महिनाको सोमबार, एकादशी तिथि, माघे सङ्क्रान्ति, सूर्यग्रहण तथा चन्द्रग्रहण लागेका समय एवं घरमा जुनसुकै यज्ञ–यज्ञादि गर्दा कालीगण्डकी स्नान गरेर यहाँको जल घरमा लैजाने चलन छ।, कालीगण्डकी नदीलाई कुनै पनि हालतमा डाइभर्सन गरेर अन्यत्र लैजान दिन नहुने र अहिलेलाई नेपालका तराईका क्षेत्रमा जमिन सिञ्चित गर्ने भनिए पनि पछि भारतमा लैजाने षड्यन्त्र बनाइएको हुनसक्ने भएकाले यहाँको वातावरण नै खलबलिने गरी पानी अन्यत्र लैजान नहुने नेकपा (एमाले) गण्डकी प्रदेशका सचिवालय सदस्य विष्णुभक्त सिग्देल बताउँछन्।, 'कालीगण्डकी नदी हाम्रो सभ्यता हो, पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुर क्षेत्रका चारै जिल्लाका नागरिक एकीकृत भएर सरकारलाई नदी डाइभर्सन र यसको पर्यावरण खलबल्याउने कार्यविरूद्ध खबरदारी गर्नेछौं, यस अभियानको नेतृत्व गरेर अगाडि बढ्नेछौं', उनले भने।, कालीगण्डकी मानवको जीवनसँग जोडिएको छ। नदीलाई अन्यत्र लैजाने षड्यन्त्रविरूद्धको खबरदारी गर्दै, यस वरिपरिका सिञ्चित नभएका खुला चौर, जमिनलाई प्रविधिको प्रयोग गरी हराभरा गराउने, पर्यटकीय क्षेत्र विकास गर्नुपर्नेमा प्रभावित क्षेत्रका स्थानीयवासीले सुझाव दिएका छन्।, विद्युत उत्पादनका लागि तटबन्ध गराउँदा नदी आसपासका क्षेत्र जलाशय हुने भएकाले यस क्षेत्रमा बसोबासका लागि जोखिम हुने हुँदा बुलिङ्टारको खाल्डेमा पाँच सय वाट क्षमताको विद्युत उत्पादन कार्य अगाडि बढाउन नहुनेमा स्थानीयवासीले असन्तुष्टि जनाएको बौदीकाली गाउँपालिका नवलपुरका स्थानीय पत्रकार वीरबहादुर बिसी बताउँछन्। , लुम्बिनी र गण्डकी यी दुई प्रदेशबीचको साझा नदी भएकाले एक प्रदेशले अर्को प्रदेशको सहमति र समन्वयबिना नदीलाई तोडमोड गर्ने, जोखिमयुक्त बस्तीको अध्ययन नगरिकन विद्युत योजना ल्याउँदा स्थानीयवासीमा ठूलो असर पर्ने देखिन्छ। कालीगण्डकी नदीको नाममा व्यक्तिगत स्वार्थ, फाइदा लिने गरी यसमा कसैले राजनीतिक तवरबाट काम गर्न नहुने बौदीकाली गाउँपालिका नवलपुरका अध्यक्ष प्रकाश ओझाले बताए। , 'राज्यले गरेको कालीगण्डकी डाइभर्सन र हाइड्याम्प निर्माणको कुरा यस क्षेत्रका स्थानीयका लागि सान्दर्भिक छैन', उनले भने, 'बृहत्तर कालीगण्डकी हितका लागि राम्दीबाट देवघाटसम्म जोडिएका क्षेत्रको संरचना बनाएर सबै नागरिक एक भएर लाग्नुपर्नेछ, कालीगण्डकी बेँसीको सभ्यता, अस्तित्व बोकेको यस नदीका नाममा कसैले खेलवाड गर्न पाइने छैन।' , कालीगण्डकी डाइभर्सन र विद्युतगृह उत्पादन गर्ने मात्र नभई यसको स्वच्छता, पर्यावरणिय, निर्मलीकरणमा ध्यान दिनुपर्नेछ। ठाउँ–ठाउँमा नदीमा मिसिने खोलानालामा माछा मार्ने निहुँमा विष राख्ने काम भइरहेको छ। यसलाई पनि सचेत नागरिकले रोक्नुपर्ने देखिएको छ।, विद्युत प्राधिकरणले कालीगण्डकी नदीमा ल्याइरहेको विद्युत उत्पादन कार्यक्रमलाई परिमार्जन गरिनुपर्नेमा सचेत नागरिकले जोड दिएका छन्। एक ठाउँको विकासका लागि अर्को ठाउँमा विनाश गर्ने कार्यले स्थानीय आक्रोशित छन्। , विभिन्न पौराणिक ग्रन्थहरूमा कालीगण्डकीको महिमाबारेमा गरिएका वर्णन, यसको तटीय इलाका, ऋषि महर्षिका आश्रमस्थल, धाम, घाट र मानव बस्तीका कारण यसको सभ्यता वैदिककालसँग जोडिएको मान्न सकिन्छ।, कालीगण्डकीको पौराणिक महत्व र यहाँ पाइने शालिग्राम शिलाबाट आकर्षित भई विभिन्न ऋृषिगणले यसको प्रसवण क्षेत्रमा आई योग, तपस्या र साधना गरेका दृष्टान्त भेटिन्छन्। कालीगण्डकीको धार्मिक, सांस्कृतिक, ऐतिहासिक, आर्थिक तथा पर्यटकीय दृष्टिले पनि महत्व छ।, कालीगण्डकी स्वयं राष्ट्रिय गौरवको विषय हो। यसको प्राकृतिक बहाव क्षेत्रलाई डाइभर्ट गरी अन्यत्र रूपान्तरण गर्ने योजना राष्ट्रिय गौरवको योजना हुन सक्दैन भन्नेमा स्थानीय जुर्मुराइरहेका छन्।, कालीगण्डकी मानिसको सभ्यता र संस्कृतिसँग जोडिएकाले बेला–बेलामा नदीका विषयमा विभिन्न कार्यक्रम र टीकाटिप्पणी भइरहेका छन्। , कालीगण्डकी डाइभर्सनलगायत जलविद्युत तथा सिँचाइको पूर्वाधार निर्माणले नदीको अस्तित्वलाई थप चुनौतीपूर्ण बनाएको छ। पौराणिक र धार्मिक महत्वमात्र होइन कि यसको बहाव क्षेत्रको वरपरका गाउँवासीका लागि यो नदी जीविकोपार्जनको स्रोतसमेत बनेको छ।, यही नदीमा माछा मारेर, नदी किनारको बालुवा चाली सुन निकालेर, ढुङ्गा तथा बालुवा बिक्री गरी जीवन निर्वाह गर्ने माझी, बोटेलगायत जाति छन्। जल, जमिन र जङ्गलको अग्राधिकार सम्बन्धित आधार क्षेत्रका बासिन्दाको हुने गर्छ। ,रासस ,
‘कालीगण्डकीलाई आफ्नै गतिमा बग्न दिऔं’ |
सेतोपाटी नारायणगढ–मुग्लिन सडकको काम नसकिएपछि थप एक महिना बाटो बन्द गरेर काम गरिने भएको छ।, दिउँसोको समयमा सवारी रोकेर पुल निर्माणका लागि भित्तो काटिँदै आइएको थियो। , गत पुस ५ गतेबाट ३० दिनका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक रोकेर काम गरिँदै आएको थियो। यही माघ ५ गतेबाट भने दिउँसो १२ बजेदेखि ४ बजेसम्म थप ३० दिन बन्द गर्न लागिएको हो।,
,
जिल्ला प्रशासन कार्यालयमा आज सम्पन्न सरोकारवालाको बैठकले काम नसकिएपछि दिन थप गरेर काम सम्पन्न गर्ने निर्णय गरेको हो।, प्रमुख जिल्ला अधिकारी अश्मान तामाङले सवारी नरोकी भित्तो काट्न नसकिने भएकाले एक महिना थप गरिएको बताए।, सो आयोजना हेर्दै आएको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का सूचना अधिकारी कृष्ण आचार्यका अनुसार सवारी रोकेर काम गर्दा प्रभावकारी भएको छ।, निर्माणाधीन पाँच पुलमध्ये तीनको भित्तो काट्ने काम सकिएको छ। यसअघि भएको निर्णय अनुसार माघको ४ गते ३० दिन पुग्छ। पुसको ३० गते र माघको १ गते माघे संक्रान्तिका कारण सवारी रोकिएको छैन।, उनका अनुसार सिमलताल, कालीखोला र नाम्ची खोलाको पुलको काम सकिएको हो। चिसेन्जी र तुइन खोलाको पुलको भित्तो काट्न बाँकी रहेको छ। तुइनको दायाँपट्टिको भित्तो ३० प्रतिशत मात्र काटिएको छ, भने चिसेन्जीको ७० प्रतिशत काटिएको छ। देब्रेपट्टी दुबै पुलको ६५ प्रतिशत हाराहारी काटिएको छ। तुइनको भित्तो ४५ मिटर अग्लो चट्टानी भीर रहेकाले काम गर्न कठिन भएको हो।, काम गर्नका लागि बाटो बनाउन मात्रै एक हप्ता लाग्ने गरेको उनले बताए।, आयोजनाका प्रमुख किरण कार्कीका अनुसार यी पुलसँगै काम थालिएका नौ वटा पुल बनिसकेका छन्। यसअघि नै सो सडकका पाँच वटा पुल बनिसकेका थिए। पाँच पुल निर्माणाधीन छन्।, एउटा पुलको जगमा ६ घर टहरा रहेकाले राहत रकम निकासा नहुँदा काम थाल्न नपाएको उनले बताए।, विश्व बैंकको सहयोगमा गरिने काममा राहत अनिवार्य दिएर मात्र अतिक्रमण गरेर बसेकालाई हटाउनुपर्ने प्रावधान रहेको छ। , यस्तै, अन्य पुल रहेका ठाउँमा २० घरटहरा रहेका छन्। ती हटाउनका लागि रु एक करोड हाराहारी राहात दिनुपर्ने हुन्छ। विसं २०७६ चैत १० गते ३३ महिनामा सम्पन्न गर्ने गरी रु एक अर्ब २५ करोडमा ठेक्का दिइएको थियो। सम्झौताको भोलिपल्टबाट कोभिड देखिएकाले काममा अवरोध पुगेको ठेकेदार कम्पनी अनक कन्ट्रक्सनले बताउँदै आएको छ। पहिलो सम्झौता अनुसार पुस ९ गते सम्झौता अवधि सकिएको छ। निर्माण कम्पनीले थप एक वर्षको समय माग गरेको छ।, सो सडकको चौडाइ ९ देखि ११ मिटरसम्म रहेकामा पुल साँघुरो भएपछि अहिले नयाँ निर्माण गरिएका पुल ११ मिटर फराकिला बनाइएको छ। ,रासस,
नारायणगढ–मुग्लिन सडक: थप एक महिना दिउँसो बाटो बन्द गरिँदै |
सेतोपाटी संवाददाता नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनको कलेजो प्रत्यारोपण गर्नुपर्ने भएको छ।, वंशाणुगत जण्डिसका बिरामी पुनको कलेजोमा धेरै जटिलता आएकाले प्रत्यारोपण गर्न चिकित्सकले सुझाव दिएका छन्।, वंशाणुगत कारणले कलेजोमा समस्या देखिएकाले पुनको परिवारलाई प्रत्यारोपणका लागि उपयुक्त अस्पताल खोज्नसमेत भनिएको उनको उपचारमा संलग्न कलेजो तथा पेट रोग विशेषज्ञ प्राध्यापक डाक्टर युवराज शर्माले सेतोपाटीलाई बताए।, ‘उहाँले यसअघि पनि बाहिर गएर धेरै पटक उपचार गर्नुभएको छ। अब उपचारले मात्रै कलेजोमा सुधार आउँदैन,’ उनले भने,‘अब उहाँसँग मिल्ने व्यक्तिको कलेजो खोजेर प्रत्यारोपण गर्नुपर्छ।’, नेपालमा त्रिवि शिक्षण अस्पताल र मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा कलेजो प्रत्यारोपण हुन्छ।, काठमाडौं बाहिर पनि फाट्टफुट्ट कलेजो प्रत्यारोपण भएको छ। तर थोरै मात्रामा मात्रै प्रत्यारोपण भइरहेको छ।,
वर्षमान पुनको कलेजो प्रत्यारोपण गर्नुपर्ने |
सेतोपाटी संवाददाता पर्सामा हुन्डी कारोबार गरेको आरोपमा दुई जना स्रोत नखुलेको रकमसहित पक्राउ परेका छन्। , जिल्ला प्रहरी कार्यालयले दुई जनालाई साढे २२ लाख रुपैयाँसहित पक्राउ गरेको प्रवक्ता डिएसपी दीपक गिरीले जानकारी दिए। , वीरगन्ज महानगरपालिका-१६ नगवा बस्ने ३४ वर्षीय विकास साह र वडा १८ इनर्वा मनियारी बस्ने १९ वर्षीय सुवासकुमार साहलाई प्रहरीले पक्राउ गरेको हो। , मंगलबार वीरगन्ज महानगरपालिका-८ घण्टाघरस्थित सडकमा उनीहरू सवार भारतीय नम्बरको स्कुटरमा प्रहरीले चेक गरेको थियो। , चेक गर्ने क्रममा पछाडि सवार सुवासकुमार साहले बोकेको झोलाबाट साढे २२ लाख नेपाली रुपैयाँ फेला पारेको हो। स्रोत नखुलेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। , उनीहरूमाथि बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिमको कसूरमा अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ।,
,
स्रोत नखुलेको साढे २२ लाख नगदसहित दुई पक्राउ |
मनिका विश्वकर्मा गत साताको बुधबार साँझको कुरा। साढे पाँच बजिसकेको थियो। ठन्डी महिना झमक्कै अँध्यारो। सिंहदरबारको पश्चिम गेटअगाडिको सडकमा ६-७ जोडी आँखा टल्किए।, खैरा, सेता, काला र टाटेपाटे रङ मिसिएको ज्यान भएका कुकुरहरू थिए। सडकमा गुडेका गाडीहरू हेर्दै यताउता डुल्थे।, अनुमान लाउन सकिन्थ्यो- उनीहरू कसैको पर्खाइमा छन्! , एकैछिनमा खरानी रङको टल्किने एउटा कार आइपुग्यो।, कुकुरहरूका आँखा झन् बले। खुसीले चम्किएजस्ता देखिए। दौडिँदै गाडी वरपर झुम्मिन थाले। भौभौ, स्वाँस्वाँ गर्दै गाडीको ढोकानजिक चलमलाए।, गाडीबाट रातो क्याप लगाएका एक जना मानिस उत्रिए। अधवैंसे उमेरका उनले ती कुकुरहरूलाई मुसारे। कुकुरहरू लुटुरपुटुर हुन खोजे। तिनलाई पन्छाउँदै ती व्यक्ति पछाडि गएर आफ्नो कारको डिक्की खोले। एउटा हातमा पहेँलो पन्जा उने। नाकमुख छोपिने गरी सर्जिकल मास्क लगाए। अनि भरिएको सेतो बाल्टिन निकाले।, कुकुरहरू झन् स्वाँस्वाँ र क्वार्र क्वार्र गर्न थाले।, बाल्टिनबाट उनले हड्डीमासुका टुक्रा निकाले। तिनीहरूका अगाडि राखिदिए। कुकुरको झुन्ड कुखुराको हड्डी खान झुम्मिइहाल्यो।, उनीहरूको प्रतीक्षा सकियो!, सिंहदरबारको पर्खालमै टाँसिएर एउटा खैरो कुकुर उभिइरहेको थियो। त्यहीँ पुगेर उनले त्यसलाई पनि खुवाए। अनि पर्खालनजिकै केही हड्डी फाले। , त्यता कुकुर थियो कि थिएन!, उनले भने, 'यहाँ पनि कुकुर बस्छन् नि! अहिले नदेखिएका मात्र हुन्। भोकाएर भौंतारिएका हुन्छन्। पछि आएर खान्छन्!', हामीले उनीसँग कुराकानी गर्यौं। उनी रहेछन् ५८ वर्षीय मनिष राई।, उनी सधैंजसो यसरी गाडीमा कुखुराको हाडमासु बोकेर आउने रहेछन्। सिंहदरबार आसपासका सडकका कुकुरलाई खुवाउने रहेछन्।, आफ्नाबारेमा यति भनेर उनी सर्वोच्च अदालततिर लागे। त्यता भेटिने कुकुरहरूलाई खुवाउन!, हामी पनि कुराकानी गर्दै उनीसँगै गयौं।, मनिषले यहाँका कुकुरहरूलाई खुवाउन थालेको तीन वर्ष भइसकेछ। सुरू कोरोना महामारीदेखि गरेका थिए।, कोरोना लकडाउनपछि सडक चकमन्न भयो। मान्छेहरू घरघरै बस्न बाध्य भए। सडकका कुकुरहरूको खाने बाटो ठप्पै भयो। , मनिषलाई कुकुर मनपर्छ। आफ्नो घरमै पनि तीन वटा पालेका थिए। लकडाउनमा बिजोग भएका एकाध कुकुर सडकबाट ल्याएर घरमा राखे।, अलपत्र र खान नपाएका कति धेरै कुकुर छन्। कतिलाई ल्याएर घरमा राख्ने? यसरी पाल्न सम्भवै भएन। , उनको बसाइ काठमाडौंको बसुन्धरा हो। आफ्नो घरअगाडि र टोलका कुकुरलाई खुवाउन थालेको त बीस वर्ष बितिसक्यो।, एक दिन उनले सम्झे- अरू टोलका कुकुरहरूलाई मजस्तै कसैले खुवाउँछ कि! सिंहदरबार आसपास सडकमा बस्ने कुकुरले के खाए होलान्? त्यहाँ कार्यालयहरू मात्र छन्, सबै बन्द भइसके। कसरी बाँचिरहेका होलान् ती कुकुर?, 'अनि एकदिन म बिस्कुट बोकेर सडकमा आएँ,' उनले भने, 'सुरूमा मैले यिनीहरूलाई बिस्कुट खुवाउँथे। तर बिस्कुट यिनीहरूको स्वास्थ्यका निम्ति राम्रो नमानिने भएकाले हड्डी दिन थालेँ।', यति भन्दै गर्दा हामी सर्वोच्चको गेटनिर पुगिसकेका थियौं। त्यहाँ एउटै कुकुर थिएन। हातमा खानेकुरा बोकेका उनले निराश हुँदै भने, 'यहाँ पहिला कुकुरहरू मलाई कुरिरहेका हुन्थे। सायद आज खेदिसके होलान्।', उनी अघि बढे र स्वास्थ्य मन्त्रालयको गेट पुगे। नभन्दै एक दर्जनजति कुकुर भेला भएका रहेछन्। मनिषलाई देखेपछि सुँघ्दै नजिकै आइपुगी हाले। त्यहाँ पनि पहिलेजसरी नै भाग लगाएर हड्डी बाडेँ।, एक जना भारी बोकेका युवक सडकमा कुकुरको झुन्ड देखेर डराउँदै आइरहेका थिए।, मनिषले उनको डर हटाउँदै भने, 'जानुस्, जानुस्। यिनीहरूले केही पनि गर्दैनन्।', एकछिन कुकुरहरूले खाएको हेरेर फेरि भने, 'यहाँका कुकुर इमानदार छन्। आफ्नो भागको मात्र खान्छन्। अर्काको भाग खाँदैनन्। त्यसैले हड्डी दिँदा पनि सजिलो हुन्छ।', मनिषलाई सानैदेखि कुकुरप्रति माया थियो। भोजपुरमा जन्मिएका उनले सानो छँदा बाटामा अलपत्र कुकुरका छाउरा बोकेर घर ल्याउँथे। आमाले भने उनलाई गाली गर्थिन्।, अहिले पनि उनको बानी फेरिएको छैन। कुकुरलाई यति धेरै खर्च गरेको भन्दै परिवारको गाली पनि खान्छन्। जे भए पनि कुकुरप्रतिको मनिषको मोह घटेन।, भन्छन्, 'छोराछोरीले कुकुर खासै मन पराउँदैनन्। उनीहरू यस्तो नगर भन्छन्। तर मेरो मनले मान्दैन, के गर्ने?', मनिष घरजग्गा सम्बन्धी कारोबार गर्छन्। त्यही कामबाट कमाएको पैसाले प्रत्येक दिन मासु पसलबाट हड्डी किन्छन् र कुकुरहरू खोज्दै हिँड्छन्। , कहिलेकाहीँ केही काम परेर उनी आउन पाउँदैनन्। त्यस्तो बेला पनि उनलाई यी कुकुर भोकै परे होलान् भन्ने चिन्ता भइरहन्छ। सिंहदरबार आसपासका यी कुकुरलाई कहिलेसम्म यसरी नै धाएर खुवाउने भन्ने उनलाई थाहा छैन।, 'लकडाउनमा खान पाएनन् भनेर दिन थालेको, यति समय बितिसक्यो। अब हेरम् कहिलेसम्म दिन सक्छु,' उमेरले छ दशक नजिक पुगेका उनले भने, 'मैले सकिनँ भने कसले देला भनेर कहिलेकाहीँ सुर्ता लाग्छ।', कुकुरलाई कुटेको वा दुःख दिएको उनलाई पटक्कै मनपर्दैन। कुकुरलाई तातोपानी हालिदिने, विष खुवाएर मारिदिने जस्ता व्यक्तिलाई कारबाही हुनुपर्ने उनी बताउँछन्। सडक जति मान्छेको हो, त्यति जनावरहरूको पनि हो भन्ने धारणा छ उनको। , 'कतिपय ठाउँमा त कुकुरलाई कुटेको निहुँमा मेरो झगडा पनि परिरहेको हुन्छ,' उनले भने, 'कुकुरलाई दुःख दिएको देख्दा मेरो मन एकदम दुख्छ।', उनले आग्रह पनि गरे, 'कुकुर मन नपरे उनीहरूबाट टाढै बसे हुन्छ। दुःख चाहिँ नदिनू होला।', यी कुरा हामी भ्रदकालीमा बसेर गरिरहेका थियौं। हाम्रोअगाडि बसेका कुकुर पनि सुनिरहेझैं देखिन्थे।, छिरबिरे कालो–सेतो रङ मिसिएको कुकुर मनिषको नजिकै आयो।, उनले त्यसको टाउको मुसार्दै भने, 'यिनीहरूले मलाई धेरै माया गर्छन्। मलाई पनि यिनीहरूको धेरै माया लाग्छ। यिनीहरूले हामीले बोलेको नबुझ्ने मात्र हुन्। तर मान्छेभन्दा धेरै असल र विश्वासिला हुन्छन्।', यति भनेर उनी सहिदगेटतिर अगाडि बढे।, हड्डी झिकेर त्यहाँ भेला भएका कुकुरलाई दिए। त्यो दिनका अन्तिम पाहुनाले खाएको एकछिन हेरिरहे।, अनि खाली बाल्टिन डिक्कीमा हाल्दै उनले भने, 'तपाईंलाई थाहा छ, यी कुकुरले यस्तो गुन कहिल्यै बिर्सिँदैनन्। एउटा बिस्कुट दियो भने पनि सधैं याद गरिराख्छन्। मान्छेलाई सय दिन गुन लगाउँदा पनि भुल्छन् तर कुकुरले कहिल्यै भुल्दैन। त्यसैले मलाई कुकुर मनपर्छ।', सबै तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी,
सिंहदरबार छेउछाउका कुकुरहरू पर्खेर बस्छन् उनलाई! |
सुदीप श्रेष्ठ ‘हाम्रो दुइटा सन्देश काठमाडौंलाई सुनाइदिनू है सर!’, विजय लामाले यसो भन्दा डायरीमा दौडिरहेको कलम समातेका मेरा औंलाहरू ठाउँको ठाउँ टक्क अडिए।, मैले उनको आँखातिर पुलुक्क हेरेँ।, विजयले पनि मेरो आँखामा आँखा जुधाउँदै भने, ‘पहिलो — ,हामी विकासविरोधी होइनौं,। यो कुरा बोल्ड अक्षरमा लेखेर काठमाडौंलाई सुनाइदिनू होला।’, म चुपचाप उनको कुरा सुन्दै थिएँ।, ‘विकास कसलाई चाहिँदैन! जति विकास काठमाडौंलाई चाहिन्छ, त्योभन्दा बढी विकास हामीलाई चाहिएको छ। विकासको निम्ति मूल्य पनि चुकाउनुपर्छ होला, तर त्यो मूल्य चुकाउने चाहिँ कसले हो? त्यो तय गर्ने को हो?’ विजयले प्रश्न गरे।, ‘कुलमान सर (घिसिङ) ले बाझेनी सब–स्टेसन नबने काठमाडौंमा लोडसेडिङ हुन्छ भनेर अन्तर्वार्ता दिनुभयो। काठमाडौंमा लोडसेडिङ होला भन्ने डर सबैलाई छ तर हामीकहाँ वर्षौंदेखि हुँदै आएको लोडसेडिङ कसले देख्ने? विकासका नाममा हाम्रो थातथलो उजाडिन लागेको, हाम्रो पुर्खौं पुर्खादेखिको भूमि खोसिन लागेको कसले देख्ने? काठमाडौं उज्यालो पार्न बाझेनीको तामाङ समुदाय आफ्नो भूमि छाडेर अँध्यारोमा बाँच्नुपर्ने हो र? काठमाडौंसँग हाम्रो प्रश्न यत्ति हो। हाम्रो प्रश्नको चित्तबुझ्दो जवाफ आओस्, हामी सहमति गर्न तयार छौं।’, भूगोलको कुरा गर्ने हो भने विजय काठमाडौंका बासिन्दा नै हुन् तर भूगोलको काठमाडौं र पहुँचको काठमाडौं फरक हुन्छ।, उनको गाउँ शंखरापुर नगरपालिका वडा नम्बर ३, बाझेनी हो जुन सिंहदरबारबाट हिसाब गर्दा ३० किलोमिटरभन्दा कम दुरीमा पर्छ। पहुँचको हिसाबले भने यो सिंहदरबारभन्दा यति टाढा छ, धेरैलाई त काठमाडौंमै पर्छ भन्ने पनि थाहा नहोला। त्यसैले विजय आफ्नो गाउँलाई ‘खाल्डोको डिलभन्दा पारिको सेपिलो ठाउँ’ भन्छन् जहाँ पुग्न सिधा बस होइन, सिन्धुपाल्चोकको मेलम्ची जाने गाडी चढ्नुपर्छ।, विजयले सुनाउन खोजेको दुइटा सन्देश चाहिँ ‘काठमाडौं सहर’ लाई हो जुन सिंहदरबारको प्रकाश–घेरा र प्रभाव–घेराभित्र बसेको छ र कहिलेकाहीँ आफैंलाई सिंहदरबार ठान्छ।, ‘अनि अर्को सन्देश?’ मैले सोधेँ।, ‘धेरैलाई भ्रम छ, हामी विद्युत प्राधिकरणले अधिग्रहण गरेको १७० रोपनी जग्गा फिर्ता लिन आन्दोलन गरिरहेका छौं। हाम्रो लडाइँ त्यसको निम्ति हुँदै होइन,’ २८ वर्षीय विजयले भने, ‘त्यो १७० रोपनी त हाम्रो हातबाट गइसक्यो। हामीले बुद्धि बिग्रेर आफ्नो जग्गा गुमायौं। तर अहिले प्राधिकरणले प्रसारण लाइन बनाउन हाम्रो थप जग्गा अधिग्रहण गर्न खोज्दैछ। बिजुलीको तारजालो बनेपछि त्यसमुनिको हजारौं रोपनी जग्गा खेर जान्छ। त्यसपछि हाम्रो गाउँ हाम्रो रहँदैन। हामीसँग जग्गाको लालपुर्जा त हुन्छ, तर त्यो हाम्रो निम्ति माटो बराबर हुनेछ। हाम्रो लडाइँ त्यही जमिन जोगाउन हो।’, विजय यहाँका वडा सदस्य पनि हुन्। मैले उनलाई गत शुक्रबार बाझेनी गाउँमै भेटेको थिएँ।, त्यसै दिन काठमाडौंमा विद्युत प्राधिकरण र बाझेनी संघर्ष समितिको वार्ता चल्दै थियो। प्राधिकरणले सहमति भएको दाबी गरे पनि गाउँमा आज मंगलबार सत्रौं दिन पनि प्रदर्शन जारी छ। गाउँलेहरू बाझेनीबाट सब–स्टेसन स्थानान्तरणको माग राख्दै र आफ्नो पुर्ख्यौली थातथलो उजाड्न पाइँदैन भन्दै नाराबाजी गरिरहेका छन्।, काठमाडौंको शंखरापुर नगरपालिका- ३, बाझेनीमा शुक्रबार भएको विरोध प्रदर्शन। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी, प्राधिकरणले ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको बिजुली काठमाडौं ल्याउन खिम्तीदेखि बाह्रबिसे हुँदै बाझेनीसम्म ४०० केभी प्रसारण लाइन बनाउन लागेको हो। यसका लागि खिम्ती, बाह्रबिसे, बाझेनी र चाँगुनारायणमा ठूला सब–स्टेसन निर्माण गर्न खोजिँदैछ। तीमध्ये बाझेनी सब–स्टेसनका लागि पाँच वर्षअघि नै १७० रोपनी जग्गा अधिग्रहण गरिएको थियो। स्थानीयले भने यो आयोजनाको विरोध गर्दै आएका छन्।, बाझेनीले चाहेको के हो? आयोजनाप्रति यहाँका स्थानीयको गुनासो के हो? माग के हो?, यिनै प्रश्न लिएर स्थानीयलाई भेट्न र उनीहरूको समस्या बुझ्न म र सहकर्मी फोटो पत्रकार नवीनबाबु गुरूङ त्यहाँ पुगेका थियौं।, जोरपाटीबाट मूलपानी, थली हुँदै साँखु नाघेर नागबेली उकालो कटेपछि जरसिंह पौवा पुगिन्छ। त्यहाँबाट सिधा पिच बाटो मेलम्ची जान्छ। दाहिने मोडिएर करिब दुई किलोमिटर कच्ची बाटो ओरालै ओरालो झरेपछि बाझेनी आइपुग्छ।, शुक्रबार दिउँसो ३ बजे हामी पुग्दा गाउँमा चिसो हावा चल्न थालिसकेको थियो। नजिकै लमतन्न फैलिएको हिमाल छोएर आएको हावाले हाम्रो जीउमा अनगिन्ती काँडा उमार्दै थियो।, विजय सब–स्टेसन बनाउन डोजरले सम्याएको १७० रोपनी जग्गाभन्दा तल ढिस्कोमा उभिएर ‘विद्युत प्राधिकरण मुर्दाबाद’, ‘हाम्रो भूमि खोस्न पाइँदैन’ भन्ने नारा लगाउँदै थिए। उनको दाहिने हातमा ब्यान्डेज बाँधिएको थियो। अघिल्लो दिन प्रहरीसँग धकेलाधकेल हुँदा कान्लामा खसेर हात मर्किएको उनले बताए।, मैले उनलाई प्रदर्शनकारीहरूको भीडबाट अलिकति माथि लगेँ। चिसो स्याँठ झन् तेज गतिमा हामीलाई घोच्न आइपुग्यो। प्रदर्शनकारीको हल्लाखल्ला भने कम सुनियो।, घाँसेभुइँमा टुसुक्क बसेर हामीले कुराकानी सुरू गर्यौं।, विजय लामा, प्राधिकरणले सब–स्टेसन बनाउन भनेर अधिग्रहण गरेको जग्गामध्ये विजयको ६ रोपनी परेको छ। त्यसबापत् लगभग २ करोड रूपैयाँ मुआब्जा बुझिसकेका छन्। उनलाई यो जग्गा गुमेकोमा अब खासै ठूलो गुनासो छैन। तर बिजुली प्रसारण लाइन बन्ने क्रममा आफू बस्दै आएको घरसहित ४० रोपनी १० आना जग्गा तारमुनि पर्न लागेकोमा उनी अत्तालिएका छन्।, ‘मेरो तीन कित्ता जग्गाको सोझै माथिबाट प्रसारण लाइन बन्नेवाला छ,’ विजयले भने, ‘एउटा कित्तामा १८ रोपनी जग्गा छ, अर्को कित्ता हामी अहिले बसिरहेको पुर्ख्यौली घरसहित १० रोपनीको छ। त्यसबाहेक तल फाँटको १२ रोपनीभन्दा बढी जग्गा पनि बिजुलीको तारले काम नलाग्ने हुँदैछ। हामीले सब–स्टेसनका नाममा ६ रोपनी त गुमायौं गुमायौं, अब ४० रोपनी पनि काम नलाग्ने भएपछि हाम्रो हाल के होला? हाम्रो त उठिबासै हुन्छ नि!’, उनका अनुसार ४० रोपनी जग्गामध्ये करिब २ रोपनीमा बिजुलीको टावर बन्नेछ। त्यसबापत् उनले प्राधिकरणबाट क्षतिपूर्ति पाउने छन्। बाँकी ३८ रोपनी उनकै नाममा हुनेछ, भोगचलन पनि उनले नै गर्नेछन् तर बिक्री गर्न पाइने छैन। बैंकमा धितो राखेर ऋण लिन पनि पाइने छैन।, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तारमुनिको जग्गा पनि बैंकमा धितो राख्न मिल्ने नियम मन्त्रिपरिषदबाट पास गराउने तयारी भइरहेको बताएका छन्। तर स्थानीयलाई यो मञ्जुर छैन।, ‘बैंकमा धितो राख्न मिल्ने नियम ल्याउँछु भन्नु त हामीलाई फकाउने उपाय मात्र हो,’ विजयले भने, ‘हामीलाई धितो नै राख्नु छैन भने त्यो नियम आएर के काम! त्यो त मिठाइ खान मन नभएको मान्छेलाई ललाइफकाइ जबर्जस्ती खुवाएजस्तै भएन र!’, ‘सब–स्टेसन बनाउन जग्गा दिँदा तपाईंहरूलाई प्रसारण लाइन पनि बन्छ र त्यो प्रसारण लाइनमुनि आफ्नो जग्गा पनि पर्छ भन्ने थाहा थिएन?’, मेरो यो प्रश्नमा उनले जवाफ दिए, ‘त्यो त विद्युत प्राधिकरणले सार्वजनिक सुनुवाइ गरेर सबै कुरा खुलस्त भनेको भए पो थाहा पाउनु! प्राधिकरणले सार्वजनिक सुनुवाइ कहिल्यै गरेन। साँचो कुरा पनि कहिल्यै भनेन। सधैं छिपछिपे कुरा गर्यो र कसैलाई ललाइफकाइ, कसैलाई जोरजबर्जस्ती जग्गा हडप्यो।’, प्राधिकरणले जग्गा अधिग्रहण गर्दा सोझा गाउँलेहरूलाई सबै कुरा खुलस्त नभनेर झुक्याएको विजयको आरोप छ।, ‘कसरी झुक्यायो?’ मैले सोधेँ।, उनका अनुसार प्राधिकरणले जोरपाटीको जस्तो थोरै क्षमताको सब–स्टेसन बनाउने भनेको थियो। सब–स्टेसन सानो भएपछि प्रसारण लाइन पनि सानै हुने र अरू कुनै प्रभाव नपर्ने आश्वासन दिएको थियो। तारमुनि जग्गा पर्छ भनेर त कुरै झिकेको थिएन।, यति मात्र होइन, जग्गा दिन आनाकानी गर्ने गाउँलेहरूलाई जंगलमा लगेर डरधम्की पनि देखाएको उनी बताउँछन्।, ‘तपाईं यहाँका घर–घरमा गएर गाउँलेहरूसँग कुरा गर्नुस्, अनि थाहा पाउनुहुन्छ उनीहरूले कसरी जग्गा हडपे भनेर,’ विजयले भने, ‘उनीहरूले तीन तरिका अपनाए — कसैलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उदाहरण दिँदै सरकारले जुनसुकै हालतमा जग्गा अधिग्रहण गर्छ, अहिले राजीखुसी दियो भने मुआब्जा पाइन्छ, नभए त्यो पनि पाइँदैन भनेर डर देखाए। अनि कसैलाई चाहिँ जग्गाको लालपुर्जा देखाउँदै भने– हेर, यो कागजमा ‘नेपाल सरकार’ लेखिएको छ। त्यसैले यो जग्गामा पहिलो हक नेपाल सरकारको हुन्छ, त्यसपछि बल्ल जनताको हक हुने हो। लालपुर्जामै ‘नेपाल सरकार’ लेखिएकाले सरकारले माग्दा जग्गा दिन्नौं भन्न पाउँदैनौ। सरकारले मिल्यो भने मुआब्जा दिएर लिन्छ, नमिले त्यसै पनि लिन्छ।’, उनले अगाडि भने, ‘कसैलाई भने सोचेभन्दा बढी पैसा दिएर लोभ्याए। सडकले नछोएका जग्गालाई पनि सडकले छोएको जग्गाबराबर दाम दिए। मोही जग्गालाई पनि बजार मूल्यको ९० प्रतिशत, ९५ प्रतिशतसम्म दिए। धेरै पैसा पाउने भएपछि जनताले दायाँबायाँ केही सोचेनन्।’, ‘अहिले जनताको आँखा खुलिसक्यो। पैसा र डरधम्कीले यहाँ बिजुली आयोजना बनाएर सिंगो तामाङ बस्ती उजाडिँदैछ भन्ने हामीले बुझिसक्यौं। नभए प्राधिकरणका सरहरू किन हाम्रो प्रश्नको जवाफ दिनुहुन्न?’, ‘प्राधिकरणले त भनिरहेकै छ नि, बिजुलीको तारमुनि परे पनि गाउँ विस्थापित हुनुपर्ने अवस्था आउँदैन भनेर!’, मेरो यो भनाइमा हाम्रो कुराकानी सुन्न आइपुगेका रोमन लामा बीचैमा कड्किए, ‘विस्थापित हुँदैन भनेर उहाँहरू कसरी ग्यारेन्टी गर्न सक्नुहुन्छ? म तपाईंलाई एउटा कुरा भनूँ– तारमुनि परेको जग्गा अहिले नै बैंकले धितो लिँदैन। यसको अर्थ के हो? किन लिँदैन बैंकले? त्यो जग्गामा केही न केही खोट हुन्छ होला त बैंकले धितो लिन नमानेको होला नि, होइन?’, रोमन लामा, दिनेश तिवारी, उनले यो पनि भने, ‘बैंकसँग त हामीलाई कुनै सरोकार भएन। हामीलाई आफ्नो जग्गा धितो राख्नु नै छैन। तर भोलि घरव्यवहार मिलाउन जग्गा बेचबिखन गर्नुपर्ने अवस्था आयो भने के गर्ने? तारमुनि परेको जग्गा बिक्री त हुँदैन। त्यो अवस्थामा हामीले हातमा जग्गा छ भनेर के गर्नू? माटो खानू? जुन जग्गाले दुःख पर्दा गर्जो टार्न सक्दैन, त्यो हुनु र नहुनुको के अर्थ? त्यस्तो अवस्थामा गाउँका बासिन्दासँग गाँवै छाडेर हिँड्नुको विकल्प के रहन्छ? भन्नुस् त तपाईं आफैं!’, उनका अनुसार प्राधिकरणले माथिल्लो तामाकोसीको निम्ति सब–स्टेसन बनाउन भनेर वडा नम्बर १ मा पर्ने मण्डनदेउपुर, हलितेको जग्गा सर्वेक्षण गरेको थियो। वातावरणीय प्रभाव मूल्यांकन (इआइए) पनि त्यही ठाउँमा मात्र गरिएको उनले बताए।, ‘त्यहाँको जग्गा भिरालो ठाउँमा पर्ने रहेछ, त्यही भएर इआइए नै नगरिएको हाम्रो जग्गा अधिग्रहण गरियो,’ उनले भने, ‘नभए यत्रो आयोजना सञ्चालन गर्दा यहाँ इआइए किन गरिएन? किन सार्वजनिक सुनुवाइ भएन?’, बाझेनीको समथर जग्गा अधिग्रहण गरिनुमा दलालहरूको पनि हात रहेको रोमन बताउँछन्।, अधिग्रहण क्रममा दलालहरूले पाँच प्रतिशत कमिसनका दरले कुस्त पैसा कमाएको उनको आरोप छ। जग्गा दिन्नँ भनेर अड्डी कसेका गाउँका तीन–चार जना आमाहरूलाई जंगलमा लगेर ज्यानकै धम्कीसमेत दिइएको उनले बताए।, कतिपय स्थानीय यस्ता पनि भेटिए, जो आफू वैदेशिक रोजगारमा गएका बेला घरका अशिक्षित बूढा बाआमालाई फकाएर जग्गा हडपेको गुनासो गर्छन्।, पाँच वर्षअघि प्राधिकरणले जग्गा अधिग्रहण सुरू गर्दा ३६ वर्षीय दिनेश तिवारी वैदेशिक रोजगार निम्ति कोरिया गएका थिए। फर्केर आउँदा आफ्नो चार रोपनी जग्गा अधिग्रहणमा परिसकेको उनको भनाइ छ।, ‘बूढा बाआमालाई केही थाहा थिएन, ललाइफकाइ गरेर जग्गा लगेछन्,’ उनले भने, ‘यो चार रोपनी त गयो गयो, यसमा मलाई चिन्ता लिएर बस्नु छैन। तर अझै मौन बस्यौं भने बचेको जग्गा पनि तारमुनि पर्छ र भएको सबै जायजेथा खेर जान्छ। त्यही जग्गा धितो राखेर कुनै व्यापार गरूँ भने त्यो बाटो पनि रहन्न।’, यसरी प्रसारण लाइन बनेपछि हजारौं रोपनी जग्गा तारमुनि पर्ने र यसले छ सयभन्दा बढी घरपरिवार प्रभावित हुने गाउँलेहरूको भनाइ छ। तीमध्ये कतिपय यस्ता छन्, जोसँग खासै धेरै जग्गा छैन र भएको जग्गा पनि जम्मै तारमुनि पर्छ।, मिठाराम तिवारी तिनैमध्ये एक हुन्।, मिठाराम तिवारी, तिवारीसँग जम्मा तीन रोपनी जग्गा छ। उनको जग्गा अहिलेसम्म अधिग्रहणमा परेको छैन। तर प्रसारण लाइन बनेपछि उनको तीन रोपनी जग्गा माथिबाटै बिजुली बग्न थाल्नेछ।, ‘हामी दुई दाजुभाइ छौं। तीन रोपनी हामी दुई दाजुभाइको सगोल जग्गा हो,’ ३५ वर्षीय मिठारामले भने, ‘यही जग्गा पनि तारमुनि परेपछि हाम्रा केटाकेटीको भविष्य के हुन्छ? भोलि हामीले आवश्यक पर्दा न जग्गा बेच्न पाउँछौं, न ऋण लिन पाउँछौं। त्यो भनेको त हामी सुकुम्बासी बराबर भएनौं र!’, उनले अर्को चिन्ता पनि देखाए, ‘सर, अहिलेको समयमा रोगव्याधिको डर बढ्दो छ। मान्छेहरू कसैलाई मिर्गौला रोगले समातेको छ, कसैलाई के भइरहेको छ। कुनै दिन यस्तै पीडा हामीले भोग्नुपर्यो भने, अहिले त कम्तिमा जग्गा बेचेर उपचार गर्न सकिएला भन्ने आस छ। भोलि तारमुनि परेको जग्गा कसैले किन्दैन, अनि त्यो बेला रोग लाग्यो भने खुत्रुक्कै मर्नुबाहेक हामी के गर्न सक्छौं? के त्यो बेला विद्युत प्राधिकरण आएर हाम्रो उपचार गर्दिन्छ? सरकार आएर हाम्रो उपचार गर्दिन्छ?’, स्थानीयले उठाएका यी समस्याको समाधान विद्युत प्राधिकरणले अहिलेसम्म दिएको छैन। उसले तीनवटा कुरा मात्र लगातार भनिरहेको छ — गाउँसम्म जान १० मिटर फराकिलो बाटो बनाइदिने, स्थानीय गुम्बा पुनर्निर्माण गर्ने र गाउँलेहरूलाई रोजगार दिने।, बाझेनीका बासिन्दालाई भने यी कुरामा कुनै रूचि छैन।, जरसिंह पौवादेखि बाझेनीसम्मको बाटो स्थानीय आफैंले श्रमदान गरेर बनाइसकेका छन्। अहिले जत्रो बाटो छ, आफ्नो सानो गाउँका लागि त्यो पर्याप्त भएको उनीहरू बताउँछन्।, ‘प्राधिकरणले दस मिटरको फराकिलो बाटो बनाउँछु भन्नु गाउँलेहरूको हितका लागि होइन,’ विजय लामाले भने, ‘सब–स्टेसन बनेपछि उनीहरूकै ठूल्ठूला गाडी र सामान ओसार्न हो। हामीलाई त अहिले जत्रो बाटो छ, त्यत्रै काफी छ।’, यति मात्र होइन, रातोमाटेदेखि भञ्ज्याङसम्म करिब ४ किलोमिटर सडक खन्न नगरपालिकाले ४५ लाख रूपैयाँ बजेट छुट्टयाइसकेको छ। त्यो बाटोको काम पनि सब–स्टेसन बनेपछि मात्र सुरू गर्ने भनी रोकिएको विजयले बताए।, गुम्बाका हकमा स्थानीय तामाङहरूले पुर्खौं पुर्खादेखि पूजा गर्दै आएको परम्परागत ‘साम्तेन छोइलिङ गुम्बा’ २०७२ को भुइँचालोले भत्किएको थियो। वडाको ८ लाख रूपैयाँ बजेटबाट पुनर्निर्माणको आधा काम पूरा भइसकेको छ। भुइँतल्ला तयार छ भने माथिल्लो तल्लाको पिलर उठाइँदै छ। गुम्बाका तीनवटा मूर्ति छेउको टहरामा राखिएका छन्। भुइँचालोअघि यी मूर्ति कालो माटोले बनेका थिए। अहिले धातुको बनाइएको छ।, ‘यो हामीले बाजे-बराजुको पालादेखि पूजा गर्दै आएको गुम्बा हो, हाम्रो भगवानको घर हो,’ ७० वर्षीय रत्नबहादुर तामाङले भने, ‘हामीलाई आफ्नो भगवानको घर बनाउन कसैको सहयोग चाहिएको छैन। हामी जति गर्न सक्छौं, आफ्नै क्षमताले गर्छौं। हामीलाई कसैले पनि भगवानको घर बनाइदिन्छु भनेर लोभ देखाउनु पर्दैन।’, सब–स्टेसन बनेपछि जागिर पाइएला कि भन्ने लोभ पनि गाउँलेहरूमा देखिन्न। खेती–किसानी गरेर जीविका गर्दै आएका धेरैजसो स्थानीय जनता सरकारले जग्गा मात्र नखोस्ने हो भने कोदो, मकै र आलु रोपेरै गुजारा चल्ने बताउँछन्।, ‘उनीहरू सब–स्टेसन बनाउन आउनुभन्दा अगाडि हामी भोकभोकै बसेका थियौं र?’ स्थानीय मेनुका सुवेदीले भनिन्, ‘जागिरको लोभमा जग्गा गुमाउन हामी तयार छैनौं।’, यी त बाझेनीका जनताको चासो र सरोकारका कुरा भए। प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले ,सेतोपाटीसँगको अन्तर्वार्तामा, ‘बाझेनी आसपासको दुई सय रोपनी जग्गा अधिग्रहण गराउने स्वार्थमा केही समूहले सब–स्टेसन स्थानान्तरणको माग गरिरहेको’ आरोप लगाएका छन्। तिनै स्वार्थ समूहले आन्दोलन भड्काइरहेको उनको आसय छ। उनले वडाध्यक्ष सूर्य तामाङसमेत यसमा संलग्न रहेको संकेत गरेका छन्।, यसबारे गाउँलेहरूलाई सोध्दा उनीहरू आक्रोशित भए।, ‘मैले पनि उहाँको अन्तर्वार्ता सुनेँ, त्यो आरोप सरासर गलत हो,’ आफ्नो ५२ रोपनी जग्गा तारमुनि पर्छ भन्ने ३२ वर्षीय सूर्यबहादुर तामाङले भने, ‘हाम्रो गाउँबाट कसैले दुई सय रोपनी जग्गाको प्रस्ताव लिएर गएको रहेछ भने त्यसको प्रमाण देखाउन हामी चुनौती दिन्छौं। उहाँ प्राधिकरणको गल्ती–कमजोरी ढाकछोप गर्न हाम्रो गाउँको बेइज्जत गर्न खोज्दै हुनुहुन्छ।’, मैले पछि वडाध्यक्ष सूर्य तामाङलाई टेलिफोन गरेर दुई सय रोपनी जग्गाको प्रस्तावबारे सोधेको थिएँ।, जवाफमा उनले भने, ‘मैले वार्ताको दिन सबभन्दा पहिला घिसिङजीलाई यही कुरा राखेँ। उहाँले जसरी दुई सय रोपनी जग्गाको प्रस्ताव आएको छ र त्यही जग्गा अधिग्रहण गराउन आन्दोलन भइरहेको हो भन्ने आरोप लगाउँदै हुनुहुन्छ, त्यसबारे उहाँलाई सिधै प्रश्न सोधिसकेँ। मैले तपाईंकहाँ कहिले यस्तो प्रस्ताव ल्याएँ भनेर सोधेँ। मैले ल्याएको होइन भने त्यस्तो प्रस्ताव राखेर आन्दोलन भाँड्न खोज्ने समूह को हो भनेर पनि सोधेँ। उहाँले जवाफ दिन सक्नुभएन।’, उनले अगाडि भने, ‘मैले अहिलेसम्म कसैप्रति व्यक्तिगत लाञ्छना लगाउने काम गरेको छैन। म त्यस्तो तल्लो स्तरको आरोप–प्रत्यारोप गर्न पनि चाहन्न। तर जसले आरोप लगाउँछ, उसले त्यसलाई प्रमाणसहित पुष्टि पनि गर्नुपर्यो नि! उत्तर दिन सक्नुपर्यो नि!’, विगतमा जग्गा अधिग्रहण गर्दा मुआब्जा दिलाउने कागजमा हस्ताक्षर गरेको भन्ने आरोपको पनि उनले खण्डन गरे।, आफू पहिलोचोटि वडाध्यक्ष भएर आएको र जेठ ९ गते कार्यभार सम्हालेदेखि बाझेनी सब–स्टेसन र त्यससँग सम्बन्धित जग्गा अधिग्रहण वा मुआब्जालाई लिएर कुनै चिठीपत्र नपठाएको उनको दाबी छ।, ‘शंखरापुर वडा नम्बर ३ का जनताको समस्या भनेको मेरो समस्या हो। मैले आफ्नो व्यक्तिगत हितका लागि होइन, जनप्रतिनिधिका हैसियतमा गाउँलेहरूको समस्या समाधान गर्न समन्वय गरेको हुँ,’ उनले भने, ‘प्राधिकरणबाट भने म र जनताबीच दुरी बढाएर फाटो ल्याउने प्रपञ्च भइरहेको छ।’, प्राधिकरणले अधिग्रहण भइसकेको जग्गा स्थानीयले फेरि कब्जा गर्न खोजे भनेर भ्रम फैलाइरहेको उल्लेख गर्दै वडाध्यक्ष तामाङले भने, ‘अहिले जनताले आवाज उठाएको अधिग्रहण गरिएको जग्गा फिर्ता लिन होइन, प्रसारण लाइनका कारण आफ्नो थप जग्गा खेर नजाओस् भनेर हो।’, ‘जहाँ विरोध प्रदर्शन भइरहेको छ, त्यो प्राधिकरणले अधिग्रहण गरेको जग्गा होइन। जनताकै स्वामित्वको जग्गा हो। त्यही जग्गामा जनताले लगाएको बाली कच्याक-कच्याक कुल्चँदै प्रहरीले गाउँलेहरूमाथि बल प्रयोग गरिरहेको छ। यही प्रहरी दमन बन्द गरौं भनेर मैले समन्वय गराउन खोजेको हुँ। तर प्राधिकरणले मेरो बद्नाम गर्न मनगढन्त हल्ला फैलाउने काम गरिरहेको छ,’ उनले भने।, यति मात्र होइन, शुक्रबार भएको वार्तामा सहमति भयो भनेर थप भ्रम फैलाइएको पनि उनले बताए।, सूर्यबहादुर तामाङ, वार्तामा खास के भएको हो भनेर मैले माथिल्लो तामाकोसी पीडित संघर्ष समितिका अध्यक्ष रणजित वाइवासँग कुरा गरेँ।, उनले आफूहरू वार्ता स्थलबाटै उठेर हिँडेकाले सहमतिको गुञ्जायसै नभएको जवाफ दिए।, शंखरापुर नगरपालिकाका मेयर, ७ नम्बरका वडाध्यक्ष, काठमाडौं–२ का प्रतिनिधिसभा सांसद र प्राधिकरण मिलेर एकपक्षीय रूपमा गरेको निर्णय आफूहरूलाई मान्य नभएको उनले बताए।, ‘तपाईंहरूको बटमलाइन के हो त?’, मेरो यो प्रश्नमा संघर्ष समितिका अध्यक्ष वाइवाले भने, ‘अहिलेलाई सब–स्टेसन स्थानान्तरण नै हाम्रो एकसूत्रीय माग हो र यही नै हाम्रो बटमलाइन हो।’, ‘सब–स्टेसनका लागि १७० रोपनी जग्गा अधिग्रहण भइसकेको छ। माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको प्रसारण लाइन निम्ति यहाँ सब–स्टेसन बनाउन अनिवार्य छ भनेर प्राधिकरणले भन्दैछ। सब-स्टेसन बनेन भने काठमाडौंमा लोडसेडिङ हुन्छ भनेर पनि भनिँदैछ। यो अवस्थामा स्थानान्तरण कत्तिको सम्भव होला?’, जवाफमा वाइवाले भने, ‘स्थानान्तरण गर्न सकिन्न भने सरकार र विद्युत प्राधिकरणका अधिकारीहरू गाउँमा आएर स्थानीय जनतासँग कुरा गर्नुपर्यो। गाउँलेहरूले उठाउने एक–एक प्रश्नको चित्तबुझ्दो जवाफ दिनुपर्यो। यो आयोजनाको महत्व के हो र किन बाझेनीमै बनाउनुपर्यो भनेर जनतालाई कुरा बुझाउनुपर्यो। हामी संघर्ष समितिको सदस्य भनेको त गाउँलेहरूका प्रतिनिधि मात्र हौं। उहाँहरूले गाउँमा आएर जनतालाई चित्त बुझाउनुहुन्छ र जनताको अग्रिम मञ्जुरी लिनुहुन्छ भने त्यसपछि हामीलाई केही भन्नु छैन। मुख्य कुरा, जनतालाई सँगसँगै लिएर हिँड्नुपर्यो भन्ने हो।’, यो आयोजनाका लागि अहिलेसम्म सार्वजनिक सुनुवाइ नभएकाले प्रसारण लाइन बनेपछि तारमुनि पर्ने जग्गा के हुन्छ भनेर प्राधिकरणले कुनै जानकारी नदिएको उनले बताए।, उनले आफ्नै उदाहरण दिए।, २०७४ सालतिर जरसिंह पौवामा सब–स्टेसनका लागि जग्गा अधिग्रहणसम्बन्धी छलफल डाकिएको थियो। रणजित वाइवाका बुवा पनि बुझ्न गएका थिए। तर उनलाई ‘तपाईंको जग्गा अधिग्रहणमा पर्दैन’ भनेर छलफलमा बस्न दिइएन।, ‘हाम्रो जग्गा अधिग्रहणमा त परेन, तर अब प्रसारण लाइन बनेपछि चार रोपनी तारमुनि पर्ने भएको छ,’ उनले भने, ‘त्यो बेला प्राधिकरणले अधिग्रहणबाहेक अरू कुरा केही गरेन। प्रसारण लाइन बनेपछि तारमुनिको ठूलो क्षेत्रफल जग्गा यसै खेर जान्छ भन्ने त हामीले पछि मात्र थाहा पायौं।’, स्थानीयसँग कहिल्यै छलफल नगरिएका यस्ता विषयमा सरकार र प्राधिकरणले गाउँमै आएर खुलेर छलफल गरोस् र सबैको मञ्जुरी लिएपछि मात्र निर्माण अघि बढाओस् भन्ने उनको माग छ।, ‘त्यो नभएसम्म हाम्रो आन्दोलन रोकिनेवाला छैन। गाउँलेहरूलाई बलपूर्वक पन्छाएर निर्माण कार्य सुरू गर्न सकिन्छ भन्ने कसैले नचिताए हुन्छ,’ उनले भने।, बाझेनीका गाउँलेहरूले विकास आयोजनाका नाममा भूमिको अधिकार खोसिँदा आफ्नो पहिचान गुम्ने डर भएको पनि बताएका छन्।, तामाङ समुदायको बाहुल्य रहेको यो गाउँमा धेरै वर्षदेखि तामाङहरूको पहिचान खोसिँदै आएको उनीहरू बताउँछन्। त्यसको सबभन्दा ठूलो उदाहरण गाउँको नाउँ हो।, बाझेनी गाउँलाई धेरैले लप्सेफेदीका रूपमा चिन्छन्, जुन यसको वास्तविक नाउँ होइन। साबिकमा लप्सेफेदी गाविसमा पर्ने भएकाले त्यही नाउँले चिनिएको पाइन्छ। जबकि, स्थानीय तामाङहरूको निम्ति खास नाम ‘भोडा ह्यूल’ हो। उनीहरू बाझेनीलाई ‘भोडा ह्यूल’ भन्छन् भने शंखरापुर नगरपालिकालाई ‘दुङ ह्यूल’ भन्छन्।, समयक्रममा यहाँका धेरै गाउँलेले समेत तामाङ भाषाका यी नाउँको अर्थ बिर्सिसके। हामीले बाझेनीमा भेटिएका धेरैसँग यसको अर्थ सोध्दा कसैले बताउन सकेनन्।, सीमान्तकृत समुदायको उत्थानमा काम गर्दै आएको ‘समान नेपाल’ का प्रवक्ता आरके तामाङले दुवै नाउँको अर्थ बुझाए।, उनका अनुसार तामाङ भाषामा शंखलाई ‘दुङ’ भनिन्छ भने ‘ह्यूल’ भनेको गाउँ वा बस्ती हो। यही दुङ ह्यूललाई नेपालीकरण गरेर शंखरापुर राखिएको उनको भनाइ छ।, दुङ ह्यूलअन्तर्गत दसवटा परम्परागत तामाङ गाउँ छन्। भोडा ह्यूल त्यसैमध्ये एक हो। यो नाम चाहिँ तामाङहरूको परम्परागत देवीका आधारमा राखिएको आरके बताउँछन्।, ‘तामाङहरू सामान्यतया आफूले पूजा गर्ने डाँडा, धर्तीमुनिको नाग, संरक्षित देवीदेउता वा परम्परागत रिवाजका आधारमा ठाउँको नामकरण गर्छन्। भोडा ह्यूल पनि त्यसरी नै संरक्षित देवीका आधारमा राखिएको पाइन्छ,’ उनले भने।, लामो समयदेखि भाषा, संस्कृतिमाथि हुँदै आएको अतिक्रमणले ठाउँको नाउँ लोप भएजस्तै अहिले जारी भूमि अतिक्रमणले कुनै दिन तामाङहरूको पहिचान नै लोप होला कि भन्ने स्थानीयलाई भय छ।, ‘आज विकासविरोधी भनेर खेद्नेहरूले भोलि हामीलाई आफ्नै थातथलोबाट खेद्न के बेर! त्यसैले यो लडाइँ हाम्रो भूमि, हाम्रो जातीय पहिचान र हाम्रो अधिकारको निम्ति हो,’ विजय लामाले भने।, करिब तीन घन्टा स्थानीयसँग कुराकानी गरेर फर्कँदा झमक्क साँझ परिसकेको थियो।, काठमाडौं खाल्डोको उत्तरी डाँडापारिको बाझेनी गाउँ उर्फ भोडा ह्यूलमा सायद घाम पनि छिट्टै अस्ताउँछ!, सबै तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी, यो पनि पढ्नुहोस्:, ‘लप्सेफेदीमा सबस्टेशन नबने केही वर्षपछि काठमाडौंमा लोडसेडिङ हुन्छ’ (भिडिओ), ,
काठमाडौंको 'लोडसेडिङ रोक्ने' भनिएको सब–स्टेसनविरूद्ध किन आन्दोलित छ बाझेनी गाउँ? |
रासस दैनिक दुई हजारभन्दा बढी बिरामीलाई बहिरंग (ओपिडी) सेवा प्रदान गर्दै आएको महाराजगञ्जस्थित त्रिभुवन शिक्षण अस्पताल (टिचिङ) मा कर्मचारीको दरबन्दी कम हुँदा समस्या हुँदै आएको छ।, नेपालमा पढाइसहित विशिष्टिकृत स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले त्रिभुवन विश्वविद्यालय चिकित्सा शिक्षा अध्ययन संस्थानद्वारा सञ्चालित टिचिङमा हाल दरबन्दीमा आठ सय कर्मचारी कार्यरत छन्।, वि.सं २०४० असार ३१ गते तीन सय एक शय्यामार्फत् स्वास्थ्यसेवा प्रदान गर्दै आएको टिचिङ अस्पतालले हाल नौ सय ७० शय्यामार्फत् बिरामीलाई स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ।, त्रिवि शिक्षण अस्पतालअन्तर्गत मनमोहन कार्डियो भास्कुलर डिजिज तथा ट्रान्सप्लान्ट सेन्टर र विपी कोइराला नेत्र अध्ययन केन्द्र पर्दैन। यी दुई निकाय चिकित्सा शिक्षा अध्ययन संस्थानद्वारा सञ्चालित हुँदै आएका छन्।, अस्पतालका कार्यकारी निर्देशक प्राडा दिनेश काफ्ले अस्पतालमा विभिन्न सेवा र शय्या थपिँदै जानु र दरबन्दी नथपिँदा अस्पताल सञ्चालनमा समस्या हुँदै गएको बताउँछन्।, 'अस्पतालमा दरबन्दी एक हजार पाँच सयको हाराहारीमा भए पनि हाल दरबन्दीमा जम्मा आठ सय कर्मचारी छन्, उक्त दरबन्दीले अस्पताल सञ्चालनमा समस्या हुँदै गएको छ', उनी भन्छन्।, टिचिङ अस्पतालमा स्थापनाको समयमा छ सय १५ जनाको दरबन्दी रहेको थियो।, अहिले दरबन्दी बढेर एक हजार पाँच सय हाराहारी पुगे पनि दरबन्दीमा भने सो सङ्ख्यामा मात्र कर्मचारी कार्यरत छन्। दरबन्दीबाहेक आन्तरिक व्यवस्थापनमार्फत् करारमा एक हजार छ सय ७५ कर्मचारी कार्यरत छन्।, त्रिवि शिक्षण अस्पताल सञ्चालनका लागि त्रिभुवन विश्वविद्यालयले वार्षिक ३३ करोड रुपैयाँ दिँदै आएको छ।, कर्मचारी धेरै हुँदा त्रिविले दिने उक्त रकम कर्मचारीलाई तीन महिना पनि तलबभत्ता दिन नपुग्ने गरेको बताइन्छ।, 'झन्डै दुई हजार पाँच सय कर्मचारीलाई तलब र भत्ताका लागि मासिक रु १२ करोड खर्च हुँदै आएको छ, त्रिविले दिएको पैसा त तीन महिनालाई पनि तलब खुवाउन पुग्दैन', कार्यकारी निर्देशक प्राडा काफ्ले भन्छन्।, टिचिङले दैनिक गरेको आम्दानीले कर्मचारी तलबभत्तादेखि सामान खरिदमा खर्च हुँदै आएको छ। अहिले टिचिङ अस्पतालमा दुई हजार चार सय ७५ डाक्टर, नर्स तथा कर्मचारी कार्यरत छन्। टिचिङमा क्यान्सर, किड्नी, स्पाइनल इन्जुरी, अल्जाइमरलगायत रोगको समेत उपचार हुँदै आएको छ।, गत पुस २७ गते पृथ्वीजयन्तीमा सार्वजनिक बिदा रहेको दिन त्रिवि शिक्षण अस्पतालमा बहिरङ्गतर्फ एक हजार नौ सय २३ बिरामीले स्वास्थ्य सेवा लिएका थिए।, यस्तै इमर्जेन्सीमा (बच्चा र लेवर रुमसहित) एक सय २४, भर्ना छ सय २४, एक्स–रे तीन सय ८०, अल्ट्रासाउन्ड दुई सय ७९, ल्याबमा एक हजार ६३ ले सेवा लिएको अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारी बताउँछन्।, सोही दिन त्रिवि शिक्षण अस्पतालमा ५३ जनाको शल्यक्रिया भएको थियो भने ७७ जना डिस्चार्ज भएका थिए। यस्तै, डायलासिस ७०, सिटी स्यान ६८, आइसियुमा ५३, एचडियुमा ६१ र डेलिभरी ११ जना भएका थिए। सोही दिन तीन जना बिरामीको ज्यान गएको थियो। बिदाको दिनमा समेत यति धेरै सेवा प्रदान गर्ने त्रिवि शिक्षण अस्पतालले बिदा नभएको दिनमा भने यसभन्दा धेरै बिरामीलाई सेवा प्रदान गर्दै आइरहेको अस्पतालका कार्यकारी निर्देशक प्राडा काफ्ले बताउँछन्। , त्रिवि शिक्षण अस्पतालले यही वर्षदेखि एक सय ४० शय्याको ‘सुरेश वाग्ले क्यान्सर सेन्टर’ समेत सञ्चालनमा ल्याएको छ। क्यान्सर पीडित बिरामीलाई विशिष्टीकृत सेवा प्रदान गर्ने उद्देश्यले रु ५५ करोड लागतमा उक्त सेन्टर सञ्चालनमा ल्याइएको हो। , उक्त सेन्टर सञ्चालनमा आएसँगै त्रिवि शिक्षण अस्पताल नौ सय ७० शय्याको अस्पताल बनेको छ। सेन्टरमा २५ शय्याको क्यान्सर वार्ड, २० शय्याको आइसियु, ३० शय्याको एचडियु र १५ शय्याको डे केयर केमोथेरापी रहेको छ।, नयाँ बनेको क्यान्सर सेन्टरलाई पूर्ण रूपमा सञ्चालन गर्न दुई सय ४१ जनाको दरबन्दी माग गरिएको कार्यकारी निर्देशक प्राडा काफ्ले बताउँछन्।,
,
त्रिवि शिक्षण अस्पतालमा कम दरबन्दी हुँदा समस्या |
सेतोपाटी संवाददाता आफ्नो १८ दिनकी नवजात छोरी अचानक बिरामी भएपछि बुबा दीलिप मुखिया र आमा उमा मुखियाले बुधबार बिहानै विराटनगरस्थित कोशी अस्पताल पुर्याए। , पेशाले एम्बुलेन्स चालक दीलिपले छोरी लिएर अस्पतालको आकस्मिक कक्षमा पुग्दा डाक्टर आकाश यादव ड्युटीमा थिए। मेडिकल अफिसर यादवको साथमा अहेवहरू लक्ष्मण माझी र टीका भण्डारी पनि थिए।, डाक्टर आकाशले शिशुको स्वास्थ्य परीक्षण गर्न थाले। केहीबेरको जाँचपछि उनले दीलिपलाई नजिकै बोलाएर भनिदिए- तपाईंको छोरीको सास छैन। अब घर लैजानुस्।, चिकित्सकले यस्तो भनेको सुनेपछि अस्पतालमा भएका मुखियाका आफन्तको रूवाबासी चल्यो। सुत्केरी श्रीमती उमा विह्वल बनेर रून थालेपछि दीलिप उनलाई सम्हाल्न थाले। त्यहीबीचमा उनकी जेठानी दिदीले भित्र पसेर शिशुलाई बोकेर बाहिर ल्याइन्। जेठानी दिदीले बोकेकै बेला शिशुले हात र खुट्टा चलाइन्। , ‘डाक्टरले सास छैन भनेर मृत घोषणा गरेकी छोरी ज्यूँदैरहि छिन्’ दिलिपले भने, ‘१८ दिनकी छोरीलाई सास छैन भनेर डाक्टरले हामीलाई अत्याइदिए। यस्तो गर्नेलाई कारबाही हुनुपर्छ।’ , अहिले दिलिपले छोरीको उपचारको लागि कोशी अस्पतालदेखि एक सय मिटर दक्षिणमा रहेको गोल्डेन अस्पतालमा राखेर उपचार गर्दैछन्। छोरीलाई अहिले एनआइसियूमा राखेर उपचार सुरू गरिएको छ। ‘अहिले गोल्डेनमा हस्पिटलमा राखेर छोरीको उपचार सुरू गरेको छु,’ उनले भने, ‘उपचारमा संलग्न चिकित्सकले पनि छोरीको स्वास्थ्य अवस्था क्रमिक रूपमा सुधार भइरहेको बताउनुभएको छ।’ , श्वासप्रश्वासमा समस्या भएर अस्पताल पुर्याएकी उनको सास छैन भनेपछि आफन्तले घर लैजान बाहिर निकालेका थिए। , मोरङको जहदा गाउँपालिका–३ भात्तिगन्जकी उमा मुखियाले कोशी अस्पतालमा पुस १७ गते छोरीलाई जन्म दिएकी थिइन्।, ‘नर्मल डेलिभरी’ मार्फत जन्मेकी शिशुको तौल १ किलो चार सय ग्राम थियो। हस्पिटलमा केही दिन बसेपछि उनलाई डिस्चार्ज दिइएको थियो। , उपचारमा लापरवाही गरेको र जिउँदो नवजात शिशुलाई मृत घोषणा गरेको आरोप लगाउँदै कोशी अस्पतालको आकस्मिक कक्षका डाक्टर आकाश यादवमाथि कुटपिटसमेत भएको छ। शिशुका आफन्तहरुले यादवलाई कुटपिट गरेका हुन्। कुटपिटबाट डाक्टर यादवको टाउकोमा चोट लागेको छ। , चिकित्सकमाथि आक्रमण गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले मनोज मुखिया, मन्नु मुखिया र अर्को एक जना नाम नखुलेको व्यक्तिलाई नियन्त्रणमा लिएको दीलिप मुखियाले बताए। कोशी अस्पतालबाट नियन्त्रणमा लिएर प्रहरीले उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखेको छ।, कोशी अस्पतालका प्रमुख डाक्टर लक्ष्मीनारयण यादवले घटना विषयमा बुझने काम भइरहेको बताए।, ‘नवजात शिशुलाई हस्पिटल ल्याउँदा मुटुको धड्कन थिएन। सास पनि चलेको थिएन भनेर उपचारमा संलग्न चिकित्सकले भनेका छन्। त्यस विषयमा बुझ्ने काम भइरहेको छ,’ उनले भने, ‘यदि उपचारमा लापरबाही भएको पाइए हस्पिटलले एक्सन लिनेछ।’,
कोशी अस्पतालमा इमर्जेन्सीका डाक्टरलाई कुट्ने तीन जना पक्राउ |
सेतोपाटी संवाददाता दाङको घोराहीमा ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन्। , भारतको उत्तरप्रदेश जिल्ला बहराइच चकियारोड रुपैडिहाका ५२ वर्षीय समसुल र बाँकेको कोहलपुर नगरपालिका वडा नं. २ का ३६ वर्षीय उमंगबहादुर शाहीलाई पक्राउपछि प्रहरीले बुधबार सार्वजनिक गरेको हो। , जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमका अनुसार तुलसीपुर–घोराही सडकखण्ड अन्तरगत घोराही उपमहानगरपालिका वडा नं. १६ सर्रा चोकबाट उनीहरूलाई मंगलबार दिउँसो गोप्य सूचनाका आधारमा पक्राउ गरिएको थियो। , उनीहरूको साथबाट ३७ ग्राम २९ मिलिग्राम ब्राउन सुगर बरामद भएको डिएसपी गौतमले बताए। , यी दुबै जनाले विगतमा पनि ब्राउन सुगरको कारोबार गर्दै आएको खुलेको डिएसपी गौतमले बताए।, ‘भारतीय नागरिकले उताबाट ल्याउने र शाहीले यता प्रयोगकर्ता खोजेर बिक्री गर्दै आएको खुलेको छ,’ गौतमले भने, ‘उनीहरू यहाँ बिक्री गर्नकै लागि आएका अवस्थामा गोप्य सूचनाका आधारमा पक्राउ परेका हुन।’, प्रहरीले पक्राउ परेका दुबै जनाविरूद्ध लागुऔषधसम्बन्धी मुद्दा चलाएर अनुसन्धान अगाडि बढाएको छ।,
दाङमा ब्राउन सुगरसहित दुई पक्राउ |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध डकैती गरेको आरोपमा फरार रहेका एक जना पक्राउ परेका छन्। , काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले डकैती गरेको आरोपमा एक जनालाई पक्राउ गरेको हो।, काभ्रे तिमाल गाउँपालिका-५ का ३२ वर्षीय रोमन भन्ने मनराज तामाङलाई मंगलबार पक्राउ गरेको एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए। , उनलाई उनकै घर नजिकबाट पक्राउ गरेको हो। थप अनुसन्धानका लागि प्रहरी वृत्त बौद्धमा पठाएको छ। , काठमाडौं उपत्यका तथा बाहिरी जिल्लाहरूमा समेत उनी लगायतको समूहले डकैती गर्ने गरेको आरोप थियो। संगठित रूपमा अपराधमा संलग्न रहेको आरोप उनीमाथि थियो। , गत असारमा शंखरापुर-९ खुलालटारका लालबहादुर थापाको घरमा पनि डकैती भएको थियो। हतियार देखाएर २ लाख ४१ हजार बराबरको सुन-चाँदीका गरगहना तथा मोबाइल डाँका मारी फरार भएका थिए। उनीहरूले हतियार देखाएर धम्क्याइ डकैती गर्ने गर्थे। , असार १२ गते शंखरापुर-९ स्थित सुशिला थापाको घरमा भएको ६ लाख ५ हजार ७५० रुपैयाँ बराबरको डकैतीमा पनि उनको संलग्नता रहेको एसपी कोइरालाले बताए। , असार २० गते बनेपा-११ का सलाम सिंह लामाको घरमा १२ लाख ४९ हजार बराबरको डकैती भएको थियो। , कीर्तिपुर-६ का नारायण बस्नेतको घरमा पनि डकैती भएको थियो। साउन २४ गते उनलाई हतियार देखाएर ५६ लाख ६५ हजार १२४ रुपैयाँ बराबरको धनमाल डाँका मारिएको थियो।, एसपी कोइरालाका अनुसार उनी यसअघि पनि जेल सजाय पाइसकेका छन्। , उनीमाथि हत्या मुद्दामा १० वर्ष जेल भुक्तान गरी छुटेका व्यक्ति हुन्। २०६८ सालमा ललितपुरको झरूवारासीमा डकैती गर्ने क्रममा एक जनाको हत्या भएको थियो। , जिल्ला अदालत ललितपुरबाट २०६९ चैत १२ गते १० वर्ष कैद सजाय सुनाएको थियो। उक्त मुद्दामा उच्च अदालत पाटन र सर्वोच्च अदालतले पनि सदर गरी कैद भुक्तान गरेका थिए। ,
काठमाडौंमा श्रृंखलाबद्ध रूपमा डकैतीमा संलग्न फरार आरोपित पक्राउ |
सेतोपाटी संवाददाता वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रूइतले राष्ट्रपति पद आफ्नो लागि नबनाएको बताएका छन्।, बुधबार आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूको प्रश्नमा उनले राष्ट्रपति पदमा आफ्नो इच्छा नरहेको बताएका हुन्। , उनले आफूले गर्ने कामको बारेमा राम्रोसँग जानकार रहेको र राष्ट्रपति पदमा गएर भन्दा बाहिर रहेर नै आफूले गर्नुपर्ने कामहरू धेरै रहेको बताए। , उनले राष्ट्रपति पदलाई राम्रो बनाउनका लागि गर्नुपर्ने धेरै कामहरू रहेको पनि बताए। , हालै बहराइनको प्रतिष्ठित इशा अवार्ड पाएपछि उनले आज पत्रकार सम्मेलन गरेका थिए।, इशा अवार्ड पाएपछि सामाजिक सञ्जालमा डा. रूइतलाई राष्ट्रपति बनाउनुपर्ने आवाज उठेका थिए। , उनले भने, ‘लोकतन्त्रमा राष्ट्रपतिको क्रेडेन्सियल र क्रेडिबिलिटी निकै ठूलो हुन्छ, चाहे रबरस्ट्याम्प नै किन नहोस्। हामी सबै मिलेर राष्ट्रपतिको गरिमा बढाउनुपर्ने छ। भारतमा कस्तो छ राष्ट्रपतिको पद, त्यसलाई पनि हेर्नुपर्छ। तर यो मेरो लागि होइन। मैले आफ्नो लिमिटेसन र स्थान राम्रोसँग बुझेको छु।’, डा. रूइतले अन्तर्राष्ट्रिय अवार्ड एक नेपालीले पाउनु भनेको विश्व मानचित्रमा नेपालको आत्मसम्मान र प्रतिष्ठा बढ्नु रहेको बताए।, उनले आफ्नो जीवनकै ठूलो कमाइका रूपमा इशा अवार्डलाई हेरेको बताए। , उनले राज्यले यो अवार्डलाई कसरी लिन्छ भन्ने बारेमा आफूले ध्यान दिइरहेको पनि बताए। , उनले नेपालमा आँखा उपचारको क्षेत्रलाई सबैतिर विस्तार गर्न आवश्यक रहेको पनि बताए। , डा. रूइतले आफ्नो पछिल्लो उपलब्धीलाई सरकारले कसरी लिन्छ भन्ने कुरा नियालिरहेको पनि बताए। ,
,
राष्ट्रपति पद मेरो लागि होइनः डा. सन्दुक रूइत (भिडिओ) |
सेतोपाटी संवाददाता आज सुदूरपश्चिम र कर्णालीका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। , पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकाले आज पहाडी भूभागका आंशिक बदली रहनेछ भने तराईमा हुस्सु लागिरहेक छ।, सुदूरपश्चिम, कर्णाली र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान तथा बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको आंकलन गरिएको छ।, दिउँसो सुदूरपश्चिम र कर्णाली लगायत पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।, शुक्रबार र शनिबार सुदूरपश्चिम र कर्णालीका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।, सुदूरपश्चिम, कर्णाली र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानसँगै बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको प्रक्षेपण गरिएको छ।, सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेशको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको तथा तराईका भू-भागहरूमा हुस्सु/कुहिरो लागेर दैनिक जनजीवन प्रभावित हुनसक्ने भन्दै महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ।,
आज सुदूर पश्चिम र कर्णालीमा वर्षाको सम्भावना |
राजेश घिमिरे सर्वोच्च अदालतले नारायणी नदीको किनारमा फोहोर नफाल्न र चितवन महोत्सवको स्थलमा गाडिएको फोहोर तुरून्त निकाल्न अन्तरिम आदेश जारी गरेको छ।, न्यायाधीश नहकुल सुवेदीको इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयविरूद्ध अन्तरिम आदेश जारी गर्दै मुद्दाको अन्तिम किनारा नभएसम्म नारायणी नदीमा कुनै प्रकारको ढल मिसाउने कार्य नगर्न, डम्पिङ साइटमा बिसर्जन गर्ने फोहोर मैला नदी किनारमा बिसर्जन नगर्न, गर्न नदिन र उद्योग वाणिज्य संघ चितवनले चितवन महोत्सव गर्न नारायणी नदीको किनारमा गाडेको फोहोर अबिलम्ब निकाल्न लगाई नदी प्रदूषित हुने अन्य कुनै कार्य हुन नदिन अन्तरिम आदेश जारी गरेको हो। , महोत्सव गर्न नदी किनारको खाल्डाहरूमा फोहोरले पुरेपछि बेटर चितवन, वे ग्रूप, हाम्रो दृष्टी राम्रो दृष्टी, नेपाल डेभलपमेन्ट सोसाइटी लगायत चितवनका विभिन्न संस्थाहरूले उद्योग वाणिज्य संघ र भरतपुर महानगरपालिकाविरूद्ध अन्दोलन गर्दै ‘सेभ नारायणी’ अभियान सञ्चालन गरेका थिए।, स्थानीयको माग सुनुवाई नभएपछि अधिवक्ता सञ्जय अधिकारीले नदी प्रदूषित भई वातावरण तथा जलचर प्राणीहरूमा नकरात्मक असर परेको र स्वच्छ वातावरणमा बाँच्न पाउने नागरिकको संविधानप्रदत्त मौलिक हकमा आघात पुगेको भन्दै उक्त कार्य नगर्न अन्तरिम आदेश र परमादेशको मागदाबी गर्दै गत पुस १९ गते सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए।, अदालतले निवेदकको मागबमोजिमको आदेश जारी गर्नु नपर्ने आधार कारण भए सो खुलाई बाटाको म्यादबाहेक १५ दिनभित्रमा लिखित जवाफ पेस गर्न विपक्षीको नाममा आदेश जारी गरेको छ। , सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै नेपालको संविधानको धारा ३० ले प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हकलाई मौलिक हकका रूपमा प्रत्याभूत गरेको र उक्त व्यवस्थाअनुसार वातावरण प्रदूषित हुन नदिने, प्रदूषित वातावरणका कारण सर्वसाधारण जनताको स्वास्थ्यमा पर्नसक्ने प्रतिकूल असरलाई न्यूनीकरण गर्ने, नदीको स्वच्छता र पवित्रता कायम गर्दै नदीप्रतिको धार्मिक, साँस्कृतिक आस्था कायम रहने अवस्था सिर्जना गर्ने एवम् नदीमा आश्रित जलचर लगायत जलाधार क्षेत्रको वातावरणीय स्वच्छता कायम गर्ने लगायतका जिम्मेवारी र दायित्व प्रत्यार्थी मध्येका विभिन्न निकायहरूको देखिने उल्लेख गरेको छ।, ‘नेपालको धार्मिक, सांस्कृतिक एवम् ऐतिहासिक महत्वको पवित्र नारायणी नदी किनारमा महोत्सवका लागि पूर्वाधार तयार गर्न वा अन्य जुनसकै प्रयोजनका लागि फोहोर थुपार्न वा फोहोर थुपारी पुर्ने लगायतका कार्य गर्दा फोहोरबाट निस्कने हानिकारक रसायनयुक्त विषालु पदार्थले भूमिगत एवम् सतहको जलश्रोत प्रदूषित हुन गई त्यसबाट मानिस एवम् अन्य जीवजन्तुको जीवनमा गम्भीर संकट उत्पन्न हुनका साथै त्यस क्षेत्रको समग्र धार्मिक, सामाजिक तथा वातावरणीय स्थितिमा नकरात्मक असर पर्न जाने देखियो,’ आदेशमा भनिएको छ। , नारायणी नदीमा फोहोर फाल्ने र चितवन महोत्सव स्थलमा फोहोरले पुर्ने कार्यविरूद्ध अभियानको नेतृत्व गरेका अभियान्ता सागर कार्कीले सम्बन्धित निकायले सर्वोच्च अदालतको आदेशको सम्मान गर्ने विश्वास व्यक्त गरे।,
नारायणी नदीमा फोहोर नफाल्न, गाडिएको फोहोर तुरून्त निकाल्न अन्तरिम आदेश |
रासस गत आइतबार पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनाका सन्दर्भमा दुर्घटना प्रभावित नागरिक समिति गठन गरिएको छ।, पोखराको सेतीनदी खोँचमा भएको जहाज दुर्घटना प्रभावित क्षेत्रका नागरिकको बुधबारको भेलाले कुसुमकेशव पराजुलीको संयोजकत्वमा नागरिक समिति गठन गरेको हो।, समितिमा आवश्यकताअनुसार सहसंयोजक, सचिव र अन्य पदाधिकारी चयन गर्न अर्को भेला यही माघ ७ गते राखिएको छ।, समितिमा गण्डकी प्रदेशका मुख्यमन्त्री प्रमुख संरक्षक रहनेगरी पोखरा महानगरपालिकाका प्रमुख, गण्डकी प्रदेशका सरोकारवाला सांसद, पत्रकार महासङ्घका केन्द्रीय सदस्य, यती एयरलाइन्स कम्पनी, कास्कीका जिल्ला समन्वय समितिका प्रमुख, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखलाई सल्लाहकारमा चयन गरिएको छ।, नागरिक समितिमा दुर्घटनामा परी मृत्यु भएका परिवारका सदस्यलाई समावेश गर्ने र आवश्यकताअनुसार प्रदेशका सङ्घसंस्था, सरोकारवाला पालिका र वडाध्यक्ष, पोखरा उद्योग वाणिज्य सङ्घ, पर्यटन व्यवसायी सम्बद्ध सङ्घ सङ्गठन, धार्मिक तथा सांस्कृतिक संस्थालाई पनि समावेश गरिने भएको छ।, भेलाले दुर्घटनामा निधन हुनेप्रति श्रद्धाञ्जली एवं शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै प्रदेशमा घटेको ठूलो हवाई दुर्घटनाको निष्पक्ष छानबिन गर्न सरकारलाई अनुरोध गरेको छ।, छानबिनमा सघाउन मृतकका परिवारलाई उचित राहत दिलाउने साथै मृतकको चीरशान्तिको कामनासहित उनीहरूको परिवारजनको सहजता हुनेगरी समाज संस्कृतिअनुसारको स्वस्तिशान्ति, पाठपूजा, प्रार्थना गर्ने निर्णय गरिएको छ।, समितिले नेपाली संस्कृति रीतिरिवाजअनुसार १३ माघमा शान्तिदीप प्रज्वलन एवं स्वस्तिशान्ति गराउने र हरेक वर्ष यसै तिथिमा स्मृतिसभा गर्ने भएको छ।, दुर्घटनामा मृत्यु भएकाको चीरस्मृति हुने कार्यक्रम थालनी गर्न समितिले विभिन्न उपसमिति गठन गर्न सकिने र त्यसको वैधानिकताका लागि नेपाल सरकारसमक्ष अनुरोध गर्ने निर्णय गरिएको छ।, यसका लागि समिति आफैँले स्रोत जुटाएर खर्च गर्ने, आम्दानी, खर्चको लेखा परीक्षण सरकारी, गैरसरकारी र स्वतन्त्र नागरिक समाजको तर्फबाट सार्वजनिक सुनुवाइ गराएर गरिने जनाइएको छ।, दुर्घटनाले उब्जाएको राष्ट्रिय, अन्तर्राष्ट्रिय शोकलाई स्वदेश, विदेशको नागरिक र स्थानीय स्रोतसाधन परिचालन गरी शक्तिमा परिणत गर्न समिति लाग्ने उल्लेख गर्दै पोखरा एवं नेपालको हवाई उडान र पर्यटन व्यवसायलाई असर पर्ने कुनै खबर प्रचार नगर्न सबैमा आग्रह गरिएको छ।,
जहाज दुर्घटना प्रभावित नागरिक समिति गठन |
एजेन्सी मेक्सिकोले सार्वजनिक स्थलमा धुमपानमा पूर्ण प्रतिबन्ध लगाउन विश्वकै सबैभन्दा कठोर सुर्तीजन्य पदार्थको नियन्त्रण गर्ने कानुन कार्यान्वयनमा ल्याएको छ।, मेक्सिकोमा सन् २००८ मा ल्याइएको कानुनले बार, रेस्टुराँ र कार्यस्थलमा धूमपानरहितका क्षेत्रहरू स्थापना गरिनुपर्ने उल्लेख गरेको थियो। , अहिले त्यसलाई सबै खालको सार्वजनिक क्षेत्रमा धूमपान गर्न नमिल्ने भनेर विस्तार गरिएको बिबीसीले जनाएको छ। त्यसमा पार्क, समुद्री तट, होटेल, कार्यालय र रेस्टुराँहरू पर्छन्।, सुर्तीजन्य पदार्थको विज्ञापन, प्रवर्द्धन र प्रायोजनमा पनि पूर्ण प्रतिबन्ध लगाइने छ। अर्थात् पसलभित्र चुरोट देखाउन पाइने छैन।, सन् २०२१ मा अनुमोदन गरिएको उक्त कदमले सुर्तीजन्य पदार्थ सम्बन्धी विज्ञापनमाथि प्रतिबन्ध लगाएको हो।, नयाँ कानुन अनुसार अब धूमपान गर्ने व्यक्तिले या त आफ्नो घरभित्र वा अरू निजी परिसरमा मात्रै चुरोट पिउन सक्नेछन्।, कैयौँ अरू ल्याटिन अमेरिकी देशहरूले सार्वजनिक स्थलमा धूमपानमाथि प्रतिबन्ध लगाए पनि मेक्सिकोले लगाएको धूमपान विरोधी कानुनलाई विश्वकै सबैभन्दा कठोर कानुनका रूपमा लिइएको छ।, कानुनमा भेप र इ-सिगरेटहरूमाथि पनि प्रतिबन्ध लगाइएको छ।, यसैबीच पान अमेरिकन हेल्थ असोसिएसन (पिएएचओ) ले मेक्सिकोको नयाँ कदमलाई स्वागत गरेको छ। उसले सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने दीर्घकालीन नसर्ने रोगलाई रोक्न र नियन्त्रण गर्ने प्रयासको लागि यो कदमको प्रशंसा गरेको छ।, सुर्तीजन्य पदार्थको प्रयोग नियन्त्रण गरे ठूलो सङ्ख्यामा मृत्युका घटना रोक्न सकिने उक्त संस्थाले दाबी गरेको छ। , एकै वर्षमा, मेक्सिकोमा हुने सबै मृत्युमध्ये १० प्रतिशत सुर्तीजन्य पदार्थको प्रयोग वा सुर्तीजन्य धुवाँको सम्पर्कबाट हुने गरेको पिएएचओले भनेको छ।, विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले मेक्सिकोमा लागेको धुमपान प्रतिबन्धको प्रशंसा गरे।, Bravo ,#Mexico,! ,@WHO, welcomes such a bold move on tobacco control. We call on all countries to strengthen ,#NoTobacco, policies and help us prevent 8 million deaths every year! ,https://t.co/TCoVRV6VEC,
— Tedros Adhanom Ghebreyesus (@DrTedros) ,January 15, 2023, प्रत्येक वर्ष अमेरिकी महादेशमा प्रत्यक्ष वा अप्रत्यक्ष धूमपानका कारण करिब १० लाख मानिसले ज्यान गुमाउने गरेको तथ्याङ्क छ।, कतिपय धूमपानकर्ताहरू नयाँ कानुनको कठोर व्यवस्थालाई लिएर असन्तुष्ट छन्।, कतिपयले यो कानुनको कार्यान्वयनलाई लिएर प्रश्नहरूसमेत उठाएका छन्।,
धूमपानमाथि प्रतिबन्ध लगाउन मेक्सिकोमा कठोर व्यवस्था |
राजेश घिमिरे भारतीय सैनिकबाट निवृत्त ३५–४० वर्षका दुई जना (रमेश र रोशन–नाम परिवर्तन) ले सामाजिक सञ्जाल फेसबुकमा ‘रोजगारीका लागि फ्रान्स लैजाने’ भनिएको पोष्ट देख्छन्।, त्यहाँ पाउने काममा सेक्युरिटी गार्ड पनि देखिन्छ। सेनाबाट निवृत्त भएको केही समयमै देखेको सेक्युरिटी गार्डमा फ्रान्स लैजाने सूचनाले उनीहरुलाई प्रभावित बनाउँछ। सामाजिक सञ्जालमार्फत उनीहरु सूचना राख्ने व्यक्तिको सम्पर्कमा पुग्छन्।, अब उनीहरुको गफ ह्वाट्स एपमा हुन थाल्छ। सूचनाकर्ताले उनीहरुलाई सेक्युरिटी गार्डमा फ्रान्स लैजाने कुरामा विश्वस्त बनाउँछ। त्यसका लागि केही सक्कली कागजपत्र आवश्यक पर्ने बताउँछ। उनीहरु झट्टै ती व्यक्तिलाई विश्वास गर्छन्। सक्कली नागरिकता प्रमाणपत्र, पासपोर्टसहित बैंकको स्टेटमेन्ट, फोटो, बायोडाटा बुझाउँछन्।, काठमाडौंको कलंकीमा अन्दाजी २५ वर्षको युवकसँग रमेश र रोशनको भेट हुन्छ। ती युवक दुबैजनालाई काम हुनेमा विश्वस्त बनाई सबै कागजपत्र लिएर बिदा हुन्छन्।, तर त्यसपछि घटना उनीहरुले नसोचेको हुन थाल्छ।, फ्रान्स जाने सपना बोकेका यी व्यक्ति आफू ठगीमा परेको भन्दै प्रहरी कार्यालय धाउन थालेको हप्तौं भयो। जिल्ला प्रहरी कार्यालयबाट प्राप्त जानकारीअनुसार फ्रान्स लगिदिन्छु भनेर सूचना पोष्ट गर्ने व्यक्ति दुबै जनाको बैंक खातामा रहेको रकम झिकेर गुमनाम भएको छ।, सक्कली काजगपत्रहरु पाएको व्यक्ति सुरुमा नेपाल टेलिकम पुगेर रमेशको सक्कली नागरिकता देखाउँदै आफ्नो मोवाइल हराएकाले नयाँ सिमकार्ड माग गर्छन्। सक्कली नागरिकता देखाएपछि टेलिकमले रमेशले लिइराखेको मोवाइलको सिमकार्ड बन्द गरेर नयाँ कार्ड दिइहाल्छन्।,
अब उसले रमेशको बैंकमा मोवाइल बैंकिङको पासवर्ड भुलेको जानकारी गराएर ओटिपीमार्फत नयाँ पासवर्ड बनाउँछ। अनि बैंक खातामा पहुँच पुर्याउन सफल हुन्छ।, सो व्यक्तिले रमेशको खातामा जम्मा भएको ८ लाख रुपैयाँ विभिन्न खाताहरुमा पठाएको जिल्ला प्रहरी कार्यालयको अनुसन्धानबाट भेटियो। इसेवा र खल्ती एपको प्रयोग गरेर बैंक खातामा रहेको पैसा विभिन्न व्यक्तिहरुलाई पठाएको अनुसन्धानबाट देखिएको छ।, रोशनको मोवाइल बैंकिङ थिएन। सो व्यक्तिले रोशनलाई ह्वाट्स एपमा भन्छ–तपाईको लागि एउटा पत्र बन्दैछ त्यसका लागि मोवाइलको एसएमएस बक्समा एउटा नम्बर आउँछ त्यो मलाई पठाइहाल्नु। रोशन त्यसका लागि तयार हुन्छन्। आएको कोड तुरुन्तै पठाइहाल्छन्। ऊ कहिले कोडले काम गरेन भनेर कहिले सिस्टम इरर देखायो भनेर पटक–पटक कोड नम्बर पठाउन भन्छ। रोशन पठाइरहन्छन्। आफ्नो बैंक खातामा रहेको पैसा कनेक्ट आइपिएसबाट निकाल्नका लागि पटक–पटक ओटिपी पठाएको हेक्का रोशनलाई हुँदैन।, केही समयको अवधिमा रोशनको बैंकमा रहेको ६ लाख रुपैयाँ उसले विभिन्न खाताहरुमा पठाएको प्रहरीको अनुसन्धानबाट देखिएको छ।, बैंक खातामा भएको सबै पैसा निकालिसकेपछि सो व्यक्ति रमेश र रोशनबाट सम्पर्कविहीन भयो। बैंकको पैसा आफैंले निकालेको र फ्रान्स लगिदिन्छु भन्ने व्यक्ति सम्पर्कविहीन बनेको मेसो पाएपछि बल्ल उनीहरु सम्पर्कमा आएको प्रहरीले बतायो।, नवलपुरको गैंडाकोट घर भएका अर्का एक युवक पनि यस्तै समस्या लिएर जिल्ला प्रहरी कार्यालय पुगेका छन्। फ्रान्स लैजान्छु भन्ने सूचनाको विश्वास गरेर आफ्ना सबै सक्कली कागजपत्र बुझाएका ती युवकको बैंक खाताबाट ८ लाख रुपैयाँ निकालिएको थियो।, ‘नेपालमा बसेर केही गर्न नसकिने भैयो भनेर चिन्तित बनिरहँदा पाएको वैदेशिक रोजगारीको सूचनाले प्रभावमा पा¥यो। फ्रान्समा राम्रो काम पाउने विश्वास दिलाएपछि मागेअनुसारको कागजपत्र बुझाएँ,’ ती युवकले भने, ‘तर त्यो मान्छे त ठग पो रहेछ। बैंकमा भएको सबै पैसा निकालेर हराएको छ।’, उनले आफ्नो समस्या सबै जानकारी गराएपछि चितवन प्रहरीले अनुसन्धान गरेकाले आफू ढुक्क रहेको बताए।, ‘जिल्ला फरक भएपनि यहाँको प्रहरीले मन लगाएर अनुसन्धान गरिरहेको छ, त्यसैले म ढुक्क छु, ,’ उनले भने, ‘आगामि दिनमा यस्ता घटना नहुन त अपराधीले छुट पाउन हुन्न।’, चितवन प्रहरीले विभिन्न देश लगिदिने प्रलोभनमा पारेर ठगी गर्ने गिरोहको खोजी भइरहेको जनाएको छ। उजुरीको आधारमा अनुसन्धानअघि बढाएर ठगिएको रकम फिर्ता ल्याउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता डिएसपी विजयराज पंडितले बताए। प्रहरीले बैंक खाताबाट पैसा पठाइएका व्यक्तिहरुको सम्पर्कमा पुगेर सम्बन्धित व्यक्तिको रकम फिर्ता गराइरहेको छ।, विदेश लगिदिन्छु भन्दै बैंक खातासम्म पहुँच बनाएर ठगी गर्ने, अनलाइनमार्फत प्रलोभन देखाएर ठगी गर्ने गिरोह सकृय रहेको डिएसपी पंडितले बताए। , जिल्ला प्रहरी कार्यालयकाअनुसार आइफोन, सुन, डायमण्डजस्ता महँगा सामान सस्तोमा पाउने लोभमा परेर ठगिएका उजुरीहरु पनि धेरै आउने गरेका छन्। यस्तो समस्या धेरै महिलालाई पर्ने गरेको छ। महँगा सामान पाउने प्रलोभनमा विदेशमा रहेका पुरुषसँग सामाजिक सञ्जालमार्फत अन्तरंग सम्बन्ध हुने र परिबन्धमा परेर लाखौं रुपैयाँ दिन बाध्य भएका उजुरीहरु पनि जिल्ला प्रहरीमा छन्।, यस्ता केही घटनामा भारतीय नागरिकहरुको संलग्नता देखिएको छ। उनीहरुले नेपालका बैंकमा अस्थायी खाता खोलेर आर्थिक कारोबार गर्ने गरेको भेटिएको छ।, पछिल्ला दिनमा प्रहरीमा पर्ने उजुरीमध्ये अधिकांश सामाजिक सञ्जालसँग जोडिने गरेको छ। ‘अनलाइनमार्फत ठगिएँ भनेर धेरै उजुरी आइरहेको छ,’ डिएसपी पंडितले सेतोपाटीसँग भने, ‘फोटोमा राम्रो देखेर अर्डर गरिहाल्ने, पैसा बुझाएपछि सामान आइपुगेन भन्ने निवेदनहरु आइरहेका छन्। समाजिक सञ्जालमार्फत ठगी बढेकाले यसको प्रयोगमा सचेत बन्नुपर्ने देखिन्छ।’, नेपाल प्रहरीको साइबर ब्यूरोले पनि सूचना जारी गर्दै केही व्यक्ति तथा अपराधिक समूहले प्रविधिको दुरुपयोगगरी सामाजिक सञ्जाल, ह्वाट्स एप, भाइवर, इमोलगायतका एपमार्फत भिडिओ, अडियो तथा टेक्स्ट म्यासेजगरी प्रलोभनमा पारेर ठगी गर्ने प्रवृत्ति बढिरहेकाले त्यस्ता कुराको विश्वास नगर्न, प्रविधिको दुरुपयोगबाट बच्न तथा ठगी हुनबाट सतर्कता अपनाउन अनुरोध गरेको छ।,
फेसबुक सूचना पत्याएर फ्रान्स जान सक्कली कागजपत्र बुझाएपछि... |
सेतोपाटी संवाददाता तनहुँमा खुकुरी प्रहार गरी एक जना पुरूषको हत्या भएको छ। , सोमबार बिहान साढे ११ बजे भानु नगरपालिका-६ टुहुरे स्थित डुम्रे-चन्द्रवती भित्री सडकखण्डमा एक पुरूषको हत्या भएको हो। , सो ठाउँमा बस्ने ४९ वर्षीय सन्तबहादुर गुरूङको हत्या भएको हो। हत्या आरोपमा व्यास नगरपालिका-८ रिस्ती बस्ने २४ वर्षीय आशिष परियारलाई प्रहरीले पक्राउ गरेको छ।, उनलाई हतियारसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज खड्काले जानकारी दिए। , हत्याको कारण खुलिनसकेको उनले बताए। अहिले मुचुल्का लगायतको काम भइरहेको प्रहरीले जनाएको छ। , घटनामा संलग्न खुकुरी प्रहार गर्ने आशिस परियारलाई हातियारसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ। ,
,
तनहुँमा खुकुरी प्रहार गरी पुरूषको हत्या |
रासस पोखरामा आइतबार बिहान भएको यती एयरलाइन्सको विमान दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन गठित ‘विमान दुर्घटना जाँच आयोग’ले काम सुरू गरेको छ।, दुर्घटना जाँच आयोगले आजदेखि काम सुरू गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए।, उनका अनुसार विमानको ‘ब्ल्याक बक्स’ आज बिहान भेटिएको छ।, ब्ल्याक बक्स आयोगलाई बुझाइसकिएको छ।, ब्ल्याक बक्स विमान दुर्घटनाका कारण पत्ता लगाउन महत्वपूर्ण मानिन्छ।, ब्ल्याक बक्समा ‘फ्लाइट राडर रेकर्ड’ र ‘ककपिट भ्वाइस रेकर्ड’ हुन्छ।, सरकारले आइतबार दुर्घटनामा परेको यती एयरलाइन्सको विमानको दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन पाँच सदस्यीय जाँच आयोग गठन गरेको थियो। आयोगको संयोजकमा पूर्वसचिव नागेन्द्र घिमिरे छन्। , साथै सदस्यमा हवाई विज्ञद्वय दीपकप्रकाश बास्तोला (अवकाशप्राप्त उपरथी) र सुनिल थापा (अवकाशप्राप्त क्याप्टेन) तथा हवाई मर्मत इञ्जिनियर एकराजजङ्ग थापा छन्।, आयोगको सदस्यसचिवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने छन्।, दुर्घटनाका कारण पहिचान गर्न र आगामी दिनमा त्यस्ता दुर्घटना दोहोरिन नदिनका लागि अपनाउनुपर्ने सुझावसहितको प्रतिवेदन दिन आयोग गठन गरिएको हो। आयोगलाई ४५ दिनको समयावधि तोकिएको छ। , आयोगले दुर्घटनाका कारण पहिचान गर्नुका साथै आगामी दिनमा त्यस्ता दुर्घटना हुन नदिनका लागि गर्नुपर्ने कार्यका लागि सुझावसहितको प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ।, गैरसैनिक हवाई उडान दुर्घटना जाँच नियमावली, २०७१ बमोजिम दुर्घटना जाँच आयोग गठन गरिएको हो।,
विमान दुर्घटना जाँच आयोगले सुरू गर्यो काम |
राजेश घिमिरे ६० वर्षीय टेकबहादुर गुरुङ चितवनका पुराना नेचर गाइड हुन्। जंगल घुम्न आउने पर्यटकलाई घुमाउन सौराहामा 'जंगल टुरिस्ट गाइड' नामको संस्था खोलेका उनी चराको विषयमा खास रूचि राख्छन्। , चराको संरक्षणमा काम गर्ने संस्था 'बर्ड एजुकेसन सोसाइटी, सौराहा' का पूर्वअध्यक्ष उनी सन् २०१२ यता भएका सबैजसो चरा गणनामा सहभागी भएका छन्। पछिल्ला केही वर्षमा भएका गणनाबाट आएको तथ्यांकले भने उनलाई चिन्तित बनाएको छ।, पानीमा आश्रित चरा गन्न चितवन राष्ट्रिय निकुञ्जभित्रको देवी ताल पुग्दा २५ प्रजातिसम्म चरा भेटिएको अनुभव उनीसँग छ।, 'देवी तालमा त अहिले पानी नै देखिन छाडेछ। पानी सुक्न थालेपछि चरा देखिनै छाडे,' गत हप्ता चरा गन्न उक्त ताल पुगेका गुरुङले भने, 'अन्य ताल, सिमसारको अवस्था पनि यस्तै बनिरहेको छ।', निकुञ्जभित्रको पटना ताल, भीमपुर तालहरूमा पनि विगतमाभन्दा निकै कम चरा देखिएको उनले सुनाए। , '२० वर्षअघि सानो कर्याङकुरुङ भनिने डुमुसेल क्रेन सौराहाको राप्ती ड्याकनजिकै प्रशस्त देखिन्थे। अचेल मानव चहलपहल बढ्यो, पानीमा प्रदूषण पनि बढ्यो। बासस्थानको विनाश भयो। खानाको कमी भयो, यत्रो वर्षदेखि ती चरा यता देखिएकै छैनन्,' गुरुङले भने, 'यसपालिको गणनामा मैले हाँस प्रजातिका चराहरू ५० प्रतिशतले घटेको अनुभव गरेँ।', जनवरीको ८ र ९ तारिखमा चितवनका विभिन्न ठाउँमा पानीमा आश्रित चराको गणना गरेपछि बर्ड एजुकेसन सोसाइटीले सार्वजनिक गरेको तथ्यांकले पनि हाँस प्रजातिका चराहरूको संख्या घट्दो देखाएको छ।, चिसो छल्न हिमालपारिबाट चितवन आउने पानीचराको संख्या हरेक वर्ष घट्दै गएको सोसाइटीका अध्यक्ष टिकाराम गिरी बताउँछन्। गत वर्ष पानीमा आश्रित चराका ५४ प्रजाति अभिलेख गरिएकामा यस वर्ष ४९ प्रजातिमात्रै भेटिएको उनले बताए।, यस वर्षको गणनामा 'चखेवा-चखेवी' भनेर चिनिने रूडी सेलडकबाहेक अन्य सबै चराको संख्या घटेको देखिएको छ। विभिन्न नदी, खोला, ताल, सिमसार क्षेत्रमा एकैपटक गरिएको गणनामा यस वर्ष ५ हजार ७४ वटा चखेवा-चखेवी भेटिए। जाडो छल्न हिमालपारिका विभिन्न देशबाट लामो दुरी यात्रा गरेर यहाँ आइपुग्ने चखेवा प्रायः जोडीमा भेटिन्छन्। गत वर्ष ४ हजार ४१५ वटा भेटिएका थिए।, अघिल्लो वर्ष करिब दुई सय वटा भेटिएका 'खोया हाँस' यस पटक ७५ वटा मात्रै भेटिए। बार हेडेड घोष नामको यो चरामध्ये एसियाका देशहरूबाट करिब ९ हजार मिटर उचाइमा उडेर नेपालका हिमालहरू पार गर्दै चितवन आइपुग्छ।, नेपालमा जलेवा भनिने ग्रेट कर्मोरेन्ट ३८४ वटा, सानो जलेवा भनेर चिनिने लिटिल कर्मोरेन्ट १६४, मणि तण्डुक भनिने घोसन्डेर १६०, खोले हुटिट्याउँ भनिने रिभर अपविङ १४९, श्वेत माथा कालहाँस भनिने ग्रेटर ह्वाइट फ्रन्टेड घोष एउटा, कालो गडुर भनिने व्ल्याक स्ट्रोक ३२, भुँडिफोर गडुर भनिने लेसेर एडजुटेन्ट ४४ वटा भेटिएको अध्यक्ष गिरीले बताए।, नेपाली रैथाने मान्ने गरिएको सिलसिले हाँस (लेजेर विस्टलिङ डक) १७० वटा भेटिए। यीमध्ये सिलसिले हाँसले नेपालमै प्रजनन् गर्छ। अरू चाहिँ मंगोलिया, काजकिस्तान, उज्वेकिस्तान साइवेरिया, तिब्बततिरबाट अक्टोबरतिर नेपाल आउँछन्, फेब्रुअरीको अन्त्यतिरबाट फर्कन थाल्छन्। अप्रिलसम्ममा ती चरा सबै फर्किसक्छन्। उनीहरूले आफ्नै ठाउँमा पुगेर प्रजनन गर्ने सोसाइटीका पूर्वअध्यक्ष वासु विडारीले बताए। , ठूलो झुण्डमा उडेर युरोपका विभिन्न देश तथा मंगोलियाबाट पश्चिम चितवनको धान खेतमा आइपुग्ने कर्याङकुरुङ चरा (कमन क्रेन) पनि यसपालि असाध्यै कम देखिएको विडारीले बताए। गत वर्ष चितवनको दिव्यनगरमा १७८ वटा कर्याङकुरुङ भेटिएका थिए। सोही ठाउँमा यस वर्ष १७ वटा मात्रै भेटिए।, 'धान खान भनेर दिव्यनगरको धानबारीमा पुग्ने चराहरू यति कम हुनुको मुख्य कारण त्यहाँ बढेको मानवीय चहलपहल हो। धानखेत मासेर उद्योग, व्यवसाय बिस्तार हुँदै जानाले चराहरूले आफ्नो ठाउँ गुमाउँदै गएका छन्,' विडारीले भने। , चितवनमा गत वर्ष भेटिएका सुनजरे हाँस, कैलो टाउके हाँस, हलोमुखे, भारक चाह र लालढेंडे चखेवा यस वर्ष कतै नदेखिएको अध्यक्ष टिकाराम गिरीले बताए। अघिल्ला वर्षमा पनि यी यहाँ कम संख्यामा देखिन्थे।, 'सामान्यतया चखेवा-चखेवी नियमित रूपमा यहाँ आइरहेका देखिन्छन्। अन्य फिरन्ते चरा एक पटक आएपछि वर्षौंसम्म नआउन पनि सक्छन्। त्यसैले यहाँ पाइने प्रजातिमा घटबढ भइरहन्छ,' गिरीले भने, 'जलवायु परिवर्तन, दूषित वातावरण लगायतका कारण अन्त पनि पानीमा आश्रित चराहरू संकटमा पर्दै गएका छन्। यहाँ पनि यसको असर देखिइरहेको छ।', तालहरूमा पानी सुक्ने, पानी भएका ताल वरपर वनभोज गर्ने, होहल्ला गर्ने चलनले चरालाई असर गरेको उनले बताए। , उनका अनुसार गत वर्ष गरिएको गणनामा चितवनमा पानीमा र बाहिर रहने चराका २०६ प्रजाति भेटिएकामा यसपालि २०३ प्रजाति रेकर्ड भएको छ। गत वर्ष १६ हजार १६५ वटा चरा भेटिएका थिए। समान अवधिमा गरिएको गणनामा यस वर्ष १२ हजार ७७७ वटा मात्रै भेटिए।, दुई दिनको गणनामा एक सय भन्दा बढी गणक सहभागी थिए।,
घट्दै छन् हिमालपारिबाट जाडो छल्न आउने चराहरू |
सेतोपाटी संवाददाता राष्ट्रिय विपद्,जोखिम न्युनिकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले विमान दुर्घटनामा परी निधन भएका परिवारका सदस्यहरुलाई शव व्यवस्थापनमा सहजीकरण गर्ने निर्णय गरेको छ।, सोमबार सिंहदरबारमा बसेको समितिको बैठकमा शवहरुको पोस्टमार्टम कार्यलाई चुस्त बनाउने तथा चाँडै नै विदेशी शवहरुलाई पनि आफन्तलाई जिम्मा लगाएर पठाउने तयारीका बारेमा छलफल भएको बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले जानकारी दिए।, सिलवालले विमान दुर्घटनामा परेर निधन भएकाहरुको बीमा पाटोमा कुनै समस्या नरहेको स्पष्ट पारे।,
‘बीमाको पाटोमा समस्या छैन। त्योदेखि बाहेक कसरी यसलाई स्मुथ बनाउने, आफन्तहरू पीडामा हुनुहुन्छ, उहाँहरुलाई कसरी सहजीकरण गर्ने भन्ने बारेमा सरकारका विभिन्न निकायहरुले के सहयोग पुर्यायाउनुपर्छ भन्ने बारेमा छलफल भयो र त्यही निर्णय भयो’, उनले भने, ‘विदेशी शवहरू पनि कलेक्शन गर्नुपर्यो। ल्याएर त्यसको पोष्टमार्टम गर्नुपर्यो। त्यसलाई विदेश पठाउने व्यवस्था गर्नुपर्यो। कसरी त्यसलाई सहजीकरण गर्ने तिनै कुराहरु भयो।’, बैठकमा गृह मन्त्रालयसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवहरु र नेपाल नागरिक उड्डयन प्राधिकरण, सुरक्षा निकायका प्रमुखहरू लगायत सरोकारवालाको सहभागिता थियो।, आईतवार बिहान १०ः३२ बजे त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको यती एयरलाइन्सको कल साइन नाइनएन एएनसी फ्लाइट नम्बर ६९१ एटीआर ७२ जहाज करिव ११ बजेको आसपासमा पोखरा विमानस्थलबाट करिब २ किलोमिटरको नजिक सेती नदीको खोचमा दुर्घटनाग्रस्त भएको थियो। , उक्त विमानमा चालक दलका सदस्यसहित ७२ जना सवार थिए।,
विमान दुर्घटनामा ज्यान गुमाउनेहरूको बीमामा समस्या छैनः अध्यक्ष सिलवाल |
युवराज श्रेष्ठ भारतीय नागरिक सञ्जय जैसवाल र उनका दिदी नितु जैसवाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छन्।, तर उनीहरू एकअर्कालाई एउटै अस्पतालमा भएको थाहा छैन। नितु अपरेसनमार्फत सुत्केरी भएर अस्पतालको बेडमा छिन् भने सञ्जय आइतबार भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएर प्रहरीले अस्पतालको पोष्टमर्टम भवनमा राखेको छ।, सुत्केरी भएर अस्पतालमा बसेकी नितुलाई भाइ पोखरा आएर अस्पतालकै अर्को भवनमा मृत अवस्थामा रहेको थाहा छैन। दिदी नितुलाई भेट्न काठमाडौंबाट पोखरा उडेका सञ्जयले पोखरामा दिदीलाई भेट्न पाएनन्।, पोखराको लामाचौरमा भारतीय नागरिक विकास कुमार जैसवाल हार्डवेयर पसल चलाउँछन्। भारतको विहारबाट ८ वर्षअघि नेपाल आएर हार्डवेयर व्यापार गरेका विकासकी श्रीमती नितु गर्भवती थिइन्। शनिबार रातिदेखि उनको स्वास्थ्यमा समस्या देखिन थाल्यो।, ‘नितु गर्भवती थिइन्। व्यथा लागेपछि हामीले हिजो बिहान ४ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्यायौं,’ विकासले भने।, श्रीमतीलाई अस्पताल ल्याएर भर्ना गरेपछि विकासले सालो सञ्जयलाई फोन गरे। सञ्जय काठमाडौंमा हार्डवेयर सामग्रीको मार्केटिङ गर्थे। फोन लागेन। त्यसपछि विकासले भारतमा ससुरालाई फोन गरे। श्रीमतीलाई डेलिभरीका लागि अस्पताल भर्ना गरेको जानकारी गराए।, भारतबाट परिवारले काठमाडौं बसेका सञ्जयलाई फोन गरेछन्। पोखरामा दिदी सुत्केरी हुन लागेको बताएछन्। त्यसपछि सञ्जयले पोखरा आउने निधो गरे।, ‘हामीले भनेका थिएनौं, घरबाट सम्पर्क भयो होला,’ विकासले सेतोपाटीलाई भने, ‘म आउँछु पोखरा भनेर बिहान ९ बजे फोन गरेको थियो।’, सञ्जयका एक जना भाइ छन्। उनी भारतमै छन्। उनकी दिदी-बहिनी भने नितु मात्र हुन्। यसअघि पनि उनी पोखरा आउने-जाने गर्थे। दिदीको घरमा बस्थे।, सञ्जयको शव फेला पारेर प्रहरीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखेको छ। उनको सनाखत पनि भइसकेको विकासले बताए। प्रतिष्ठान अगाडिका चौरमा सञ्जयको शव बुझ्न विकाससहित उनका साथीहरू जम्मा भएका छन्।, विकासकी श्रीमती नितुले आइतबार बिहान नै छोरी जन्माएकी छिन्। अस्पतालमा अरू बिरामीले कुरा गरेको सुनेर नितुले श्रीमान विकासलाई भाइ भेट्न आए-नआएको सोधेकी थिइन्। विकासले भने भाइ काठमाडौंमै भएको बताएका छन्।, ‘भाइ भेट्न आयो कि आएन भनेर नितुले सोधेकी छन्। हामीले आएको छैन भनेका छौं,’ विकासले भने, ‘अहिले जानकारी दिएका छैनौं, उनको मोबाइल पनि मैले राखेको छु। थाहा पायो भने आत्तिएर अपरेसन गर्दा लगाएको टाँका फुस्किन सक्छ।’, रौतहटपारि भारतको विहार राज्य सीतामढीका सञ्जय ६ वर्षअघि मात्र काठमाडौं आएका थिए। उनका अंकल परिवारसहित काठमाडौंमा बस्छन्। सञ्जय भने एक्लै छुट्टै कोठा लिएर बसेको विकासले बताए।, सञ्जयको काठमाडौंमा कुनै पसल थिएन। हार्डवेयरका होलसेल पसलबाट सामान किनेर साना हार्डवेयर पसलमा बेच्ने काम गर्थे।, ‘काठमाडौंमा उसको पसल थिएन, होलसेलमा सामान लिएर सानो पसलमा बेच्थ्यो, कमाइ- खाइराखेकै थियो,’ विकासले भने।, आइतबार भएको दुर्घटनामा परेर सञ्जयसहित ५ जना भारतीय नागरिकको मृत्यु भएको छ। भारतीय नागरिकहरू सोनु जैसवाल, अनिलकुमार राजभाल, अभिषेक कुशवाह र विशाल शर्माबारे भने अहिलेसम्म केही जानकारी आएको छैन। अहिले उनीहरूका आफन्त पनि कोही नभेटिएको विकासले बताए।, ‘अरू भारतीयका बारे अहिलेसम्म कोही सम्पर्कमा आएको छैन,’ विकासले भने, ‘हाम्रो जैसवाल परिवार र पोखरामा रहेका भारतीयलाई पनि हामीले बुझ्यौं, कसैले चिनेका छैनन्।’, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले सनाखत भएका शव आफन्तलाई बुझाउने तयारी गरेको छ। विदेशी नागरिकको शव काठमाडौं पठाएर सम्बन्धित देशका दूतावासलाई बुझाउने तयारी सरकारले गरेको छ। सनाखत नभएका नागरिकका शव पनि काठमाडौं पठाउने प्रतिष्ठानका चिकित्सकले बताएका छन्।, विकास भने आफ्ना साला सञ्जयको शव पोखरामै बुझ्न चाहेका छन्। यसका लागि सञ्जयका बुबाले भारतीय दूतावास काठमाडौंमा शव बुझ्नेबारे लेखेको पत्र पर्खेका छन्। दूतावासले निरन्तर सम्पर्क गरिराखेको उनले बताए।, ‘हामी यहीँ भएपछि सञ्जयको शव यहीँ बुझ्न चाहन्छौं, उनको शव भारत लिएर जाने हो, उतै दाहसंस्कार गर्ने हो,’ उनले भने।,
‘तिम्रो भाइ भेट्न आएको थियो भन्न सकेको छैन श्रीमतीलाई’ |
सेतोपाटी संवाददाता पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटनामा बेपत्ता भएका एक जनाको शव फेला परेको छ। , सोमबार अपरान्ह ३ बजे सेती नदीबाट एक जनाको शव फेला निकालिएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। , सशस्त्र प्रहरी बलको गोताखोरले पानीबाट शव निकालिएको हो। , अहिले उक्त शवलाई पनि गण्डकी अस्पताल लैजाने तयारी गरिरहेको डिएसपी थापाले बताए। अहिलेसम्म अस्पतालमा ६८ जनाको शव राखिएको छ। , बाँकी तीन जना बेपत्ताको खोजी गरिरहेको छ। त्यहाँ अहिले सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खटिएको छ। , आइतबार बिहान १०:३२ बजे काठमाडौंबाट उडेको यति एयरको जहाज पोखरामा दुर्घटना भएको हो। , पोखरा महानगरपालिका-१५ स्थित सेतीको खोँचमा जहाज दुर्घटना भएको हो। जहाजमा ४ जना चालक दल र ६८ यात्रु सवार थिए। ,
जसमध्ये ६९ जनाको शव फेला परेको हो। गण्डकी अस्पतालमा मृतकको सनाखत गर्ने काम भइरहेको छ। , प्रहरीले सनाखत भएका शवको पोष्टमर्टमपछि परिवारलाई बुझाउने तयारी गरेको छ। , यस्तै काठमाडौंमै बुझ्न चाहने, पहिचान नखुलेका, विदेशी नागरिक र चालक दलको शव काठमाडौं ल्याउन लागिएको छ। कहिले ल्याउने भन्ने टुंगो लागिसकेको छैन। ,
पोखरा जहाज दुर्घटना: पानीबाट निकालियो एक जनाको शव |
रासस आइतबार पोखराको सेतीखोंचमा भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा निधन भएका व्यक्तिहरूको पोष्टमर्टम सुरू भएको छ।, शव पहिचान र परीक्षणका लागि गठित विशेषज्ञ टोलीका दुई सदस्य काठमाडौंबाट पोखरा आइपुगेको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ। , कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरूदत्त ढकालले पोष्टमर्टमलगायत प्रक्रिया पूरा गरी शव सम्बन्धित परिवारलाई बुझाउने तयारी भइरहेको जानकारी दिए।, पोष्टमर्टममा लागि गठित विशेषज्ञ टोलीमा काठमाडौंबाट आएका दुई विज्ञ चिकित्सकसहित पोखराका चिकित्सक पनि सम्मिलित छन्। , दुर्घटनामा निधन भएका ६८ जनाको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (गण्डकी अस्पताल) मा राखिएको छ।, एउटा शव पोष्टमार्टम गर्न आधादेखि डेढ घटासम्म समय लाग्ने अस्पतालले जनाएको छ । , पोष्टमार्टमपछि पोखरा र आसपासका व्यक्तिको शव आफन्तलाई बुझाइने छ भने विदेशी नागरिक, चालक दलका सदस्य र पहिचान हुन नसकेका शवहरु काठमाडौँस्थित शिक्षण अस्पतालमा पठाइनेछ । , पोष्टमार्टमपछि शव बुझ्न दिवङ्गतका आफन्तजन अस्पताल परिसरमा जम्मा भएका छन् । दुर्घटनामा परेका चार जना अझै बेपत्ता छन् । बेपत्ताको खोजी कार्य चलिरहेको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।,
,
पोखरा जहाज दुर्घटनामा निधन भएका व्यक्तिहरूको पोष्टमर्टम सुरू |
रासस आइतबार बिहान यती एयरलाइन्सको जहाज खसेको पोखराको सेतीकै खोंच नजिक छ नागार्जुन टोल। त्यही टोलमा बस्छन् कुमार आले।, तनहुँको बन्दीपुरमा जन्मेका उनी परिवारसहित १० वर्षदेखि यही टोलमा बस्दै आएका छन्।, स्थानीय ब्लक फ्याक्ट्रीमा काम गर्ने आले समय–समयमा माछा मार्न सेती नदीको किनारमा जाने गर्छन्। संयोगवश आइतबार पनि बिहानै उनी सेतीको खोंच झरे। दुर्भाग्य, त्यहीँ माछा मार्ने क्रममा आइतबार बिहान उनले जीवनमा कहिल्यै नदेखेको त्रासदी देखे र भोगे। , एकसुरमा जालमा माछा पार्ने प्रयन्त गरिरहेका आलेले सेती सुसाएको जस्तो सुने। ठूलो आवाजसँगै माछा मारिरहेकै ठाउँमा ढुङ्गा झर्न थाले। सुसाएको आवाज ठूलै हावाहुरी आएको जस्तो सुनिएको आलेले सुनाए।, 'ढुंगा झर्न थालेसँगै मेरो त होसहवास नै उड्यो, के भयो भनेर निकै अत्तालिएँ', उनले भने, 'खोंचबाट माथि कसरी आइपुगे आफैंलाई थाहा छैन, अहिले सम्झँदा कहाली लागेर आउँछ।', माथि आइसकेपछि मात्रै जहाज दुर्घटना भएको थाहा पाएको उनले सुनाए।, सेती खोंचमा आफू मात्रै नभइ अरू चार जनाले पनि माछा मारिरहेको आफूले पछि मात्रै थाहा पाएको बताए।, 'यति ठूलो दुर्घटना हुँदा नदीकै खोंचमै रहेको म भाग्यले बाँचेको जस्तो लाग्छ, अहिले पनि सम्झाँदा डर लाग्छ', उनले सुनाए, 'परिवारका सदस्य पनि उत्तिकै डराएका छन्।', जहाज ठोक्किएपछि खोंचमा खसेका ढुंगा शरीरमा लाग्दा करङ्गमा चोट लागेको छ भने शरीरका अन्य भागमा पनि चोट लागेको उनले सुनाए। , नदीको दुवैतर्फ रहेका घनाबस्तीका बीचमा जहाज दुर्घटना हुँदा आसपासका बस्ती जोगाएको भन्दै स्थानीयले पाइलट कमल केसीलाई धन्यवाद दिएका छन्।, स्थानीयवासी एवम् सिर्जना टोल विकास संस्थाका सचिव इन्द्रप्रसाद सापकोटाले भने, 'दुर्घटनाको प्रकृति हेर्दा पाइलटले बस्ती जोगाउन निकै प्रयास गरेको जस्तो देखिएको छ, दुर्घटनाको कारणबारे अनुसन्धानको रिपोर्ट आएपछि बाँकी जानकारी हुने नै छ।' , सरकारले दुर्घटना जाँचका लागि पाँच सदस्यीय समिति गठन गरेको छ।, सोमबार विमानको बिहान भेट्टाइएको ब्ल्याक बक्स उक्त जाँच समितिले बुझाइसकिएको छ। ब्ल्याक बक्स जहाजको महत्वपूर्ण उपकरण मानिन्छ। जसमा विमान दुर्घटना हुनुभन्दा दुई घण्टा अघिसम्मका आवाज रेकर्ड हुन्छन्। उक्त ब्ल्याक बक्समा रेकर्ड भएका आवाजका आधारमा दुर्घटनाको कारण पत्ता लगाउन सहज हुन्छ। ब्ल्याक बक्समा इञ्जिनको आवाजसँगै क्याबिन, ककपिट आदिको आवाज रेकर्ड हुने भएकाले दुर्घटनाका समयमा जहाज कस्तो अवस्थामा थियो भन्ने पत्ता लगाउन सजिलो हुने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता अनुप जोशीले बताए। ,
सेतीको खोंचमा माछा मारिरहेका आले भन्छन्- बेलाबेलामा झस्कन्छु |
सेतोपाटी संवाददाता काठमाडौंको कीर्तिपुर नगरपालिकास्थित चोभारमा सोमबार साँझ एक कार सडकबाट खसेको छ।, प्रहरीका अनुसार चोभारबाट खोकनातर्फ जाँदै गरेको कार बा ५ च ५६५४ नम्बरको कार बागमती नदी किनारमा खसेको हो। , जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले दुर्घटनाबारे पुष्टि गरे। अहिले प्रहरी वृत्त कीर्तिपुर, ललितपुर प्रहरी परिसर र विपद् व्यवस्थापन सामाखुसीबाट उद्धारको टोली खटिएको छ। कारमा कति जना सवार थिए भन्ने खुलेको छैन। , कारमा सवार एक जना महिलाको उद्धार गरी प्रहरीले बयोधा अस्पतालमा पुर्याएको छ। अरू पनि कोही सवार थिए/थिएनन् भन्नेबारे प्रहरीले बुझिरहेको छ। , दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ। ,
चोभारमा सडकबाट खस्यो कार |
सेतोपाटी संवाददाता पोखरा जहाज दुर्घटनामा खोजी तथा उद्धारको काम मंगलबार बिहानका लागि स्थगित भएको छ। , सोमबार साँझसम्म ६९ जनाको शव फेला परेको छ। ती शवलाई गण्डकी अस्पतालमा राखिएको छ। , अन्य तीन जनाको भने शव फेला पर्न सकेको छैन। केही शरीरका भागहरू फेला परेपनि एउटै व्यक्तिका हुन् वा फरक व्यक्तिका हुन् भन्ने नखुलेको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। , आइतबार बिहान साढे १० बजे काठमाडौंबाट उडेको जहाज पोखरामा करिब ११ बजे दुर्घटनामा परेको थियो। , पोखरा महानगरपालिका-१५ स्थित सेतीको खोँचमा जहाज दुर्घटनामा परेको हो। जहाजमा चार चालक दलसहित ७२ जना सवार थिए। , फेला परेका शवको पनि सनाखत गर्ने काम भइरहेको छ। यस्तै विदेशी नागरिक, काठमाडौंमा बुझ्ने, पहिचान नखुलेको र चालक दलको शव काठमाडौं ल्याउने तयारी छ। ,
,
पोखरा जहाज दुर्घटना: फेला परेनन् तीन जना, भोलि फेरि खोजिने |
रासस आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको क्षति मूल्यांकन गर्न बीमा सर्भेयर र कानून व्यवसायीहरूको टोली नेपाल आइपुगेको छ।, क्षतिग्रस्त सम्पत्ति तथा दायित्वको मूल्याङ्कन गर्नका लागि सर्भेयर टोली सिङ्गापुर र कानूनी व्यवसायीको टोली भारतबाट सोमबार काठमाडौं आइपुगेको नेपाल बीमा प्राधिकरणका प्रवक्ता राजु रमण पौडेलले जानकारी दिए।, बीमा दलाल (ब्रोकर) का रूपमा रहेको बेलायतको कम्पनीले सिङ्गापुरबाट सर्भेयर खटाएको उनको भनाइ छ।, दुर्घटनामा परेका यात्रुको बीमा दाबी भुक्तानीका लागि कुनै समस्या नहुने पनि पौडेलले जानकारी दिए।, 'बीमा गरेको कम्पनीले पनि अर्को कम्पनीमा पुनर्बीमा गरेको हुन्छ। पुनर्बीमाबाट पैसा आएपछि बीमा कम्पनीबाट भुक्तानी भइहाल्छ। मृतकको पोस्टमर्टम रिपोर्टका आधारमा बीमा रकम भुक्तानी हुन्छ', उनले भने।, सोमबार सिंहदरबारमा बसेको राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले हवाई दुर्घटनामा परेका यात्रुका परिवारलाई बीमा भुक्तानीका सहजीकरण गर्न निर्देशन दिएको पनि प्रवक्ता पौडेलले जानकारी दिए।, बीमा दाबी भुक्तानीबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले पनि चासो राखेको उनको भनाइ छ। , 'राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले बीमा भुक्तानीबारे चासो राखेको थियो। बीमा रकम भुक्तानीका लागि पोस्टमर्टम रिपोर्ट चाहिने भएकाले पोखरा र काठमाडौंबाट रिपोर्ट लिन सकिने भनिएको छ। दाबी भुक्तानीमा समस्या नहुने जानकारी हामीले समितिलाई गराएका छौं', प्रवक्ता पौडेलले भने।, नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हवाई यात्रुको २० हजार अमेरिकी डलर बराबरको बीमा गरिएको हुन्छ। चालक दलका सदस्यको भने एयरलाइन्स कम्पनीअनुसार फरक–फरक हुने प्राधिकरणले जनाएको छ।, आइतबार दुर्घटनामा परेको यती एयरलाइन्सको हवाई जहाजमा सवार चार जना चालक दल र ६८ जना यात्रु सबैको मृत्यु पुष्टि भइसकेको छ।,
हवाई दुर्घटनाको क्षति मूल्यांकन गर्न विदेशी टोली नेपालमा |
सेतोपाटी संवाददाता नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा जहाज दुर्घटनासम्बन्धी सामाजिक सञ्जालमा जहाज भित्रबाटै लाइभ गरेको भनेर भ्रम छर्न अर्कै भिडिओ प्रचार गरिरहेको भन्दै त्यसमा सत्यता नरहेको स्पष्ट पारेको छ।, सोमबार ,न्युज एजेन्सी नेपाल,सँगको कुराकानीमा नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले सामाजिक सञ्जालमा भाइरल बनिरहेको उक्त भिडिओ आइतबार काठमाडौंबाट पोखरा उडेको यती एयरलाइन्सको दुर्घटनाग्रस्त जहाजको नभएको बताए। , उनले भने,‘सामाजिक सञ्जालमा आएका भिडिओ फुटेजहरू हामीले पनि हेर्यौं। त्यसमा कुनै सत्यता छैन। जुन एउटा फेसबुकमा लाइभ भएको भिडिओ देखिन्छ। त्यो हिजो दुर्घटना भएको जहाजको नभई अन्य कुनै जहाजको भएको बुझिन्छ। यस घटनालाई जोडेर भ्रम फैल्याउने हिसाबले कसैले गलत सूचना सम्प्रेषण गरेको देखिन्छ। यसमा सत्यता छैन।’ , उनले छानबिन समितिले स्वतन्त्र र निष्पक्ष अनुसन्धान गरेर रिपोर्ट बाहिर ल्याउने बताए।, 'यसमा अरू कसैले पनि घटनाका विषयमा अड्कल अनुमान गर्नु वाञ्छनीय हुँदैन। यो घटना भइसकेपछि यसको स्वतन्त्र र निष्पक्ष छानबिनको लागि नेपाल सरकारले जाँचबुझ समिति गठन गरिसकेको हुनाले यस घटनालाई जोडेर कुनै पनि व्यक्तिले, महानुभावहरूले प्राधिकरणका पूर्व कर्मचारीहरू कसैले पनि यस बारेमा नबोल्दा उपयुक्त हुन्छ। यसमा कसैले पनि आफ्नो विज्ञता देखाउनुपर्ने आवश्यकता छैन। जाँचबुझ समितिले घटनाको स्वतन्त्र र निष्पक्ष सत्यतथ्य बाहिर ल्याउनेछ', उनले भने।, प्राधिकरणले विमान दुर्घटनाको विषयलाई लिएर अनावश्यक नबोल्न समेत निर्देशन दिएको छ। , प्राधिकरणले स्वतन्त्र र निष्पक्ष छानबिनको लागि नेपाल सरकारले जाँचबुझ समिति गठन गरिसकेको भन्दै विमान दुर्घटनासम्बन्धी घटनालाई जोडेर कुनै पनि व्यक्ति, संस्था, सम्बन्धित निकाय र पूर्व कर्मचारीहरूलाई नबोल्न निर्देशन दिएको हो।, प्रवक्ता निरौलाले छानबिन समितिले यसको स्वतन्त्र र निष्पक्ष अनुसन्धान गरेर रिपोर्ट बाहिर ल्याउने भन्दै घटनाका विषयमा अड्कल अनुमान गर्नु वाञ्छनीय नहुने बताए।, उनले कोही पनि व्यक्तिले आफ्नो अनुमानको भरमा विज्ञता दर्शाउनुपर्ने आवश्यकता नरहेको बताए।, उनले जाँचबुझ समितिले घटनाको स्वतन्त्र र निष्पक्ष सत्यतथ्य बाहिर ल्याउने बताए।, प्रवक्ता निरौलाले नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रकाशन गरेको प्रेस विज्ञप्ति र प्राधिकरणका बहालवाला आधिकारिक व्यक्तिबाट प्रशारित समाचारहरू बाहेक अरूलाई विश्वास नगर्न र त्यस प्रकारका खण्डनहरूलाई विश्वास नगरी प्राधिकरणका सत्यतथ्य सूचनाहरू जानकारीमा राख्न आग्रह गरे।, आइतबार बिहान १०ः३२ बजे त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको यती एयरलाइन्सको कल साइन नाइनएन एएनसी फ्लाइट नम्बर ६९१ एटिआर ७२ जहाज करिब ११ बजेको आसपासमा पोखरा विमानस्थलबाट २ किलोमिटरको नजिकमा सेती नदीको खोंचमा दुर्घटनाग्रस्त भएको थियो।, ७२ जना सवार जहाजमा अहिलेसम्म ६९ जनाको शव भेटिएको छ भने ३ जनाको खोजी कार्य जारी छ।, मृतकको पोस्टमर्टमका लागि गण्डकी अस्पतालमा राखिएको र ४१ जनाको अहिलेसम्म पहिचान खुलेको प्राधिकरणले जनाएको छ। जहाजको ब्ल्याक बक्स फेला परिसकेको र काठमाडौं ल्याइ जाँचबुझ समितिलाई बुझाउने तयारी रहेको प्राधिकरणले बताएको छ।, सरकारले आइतबार विमान दुर्घटनापछि दुर्घटनाको कारण पहिचान गरी आगामी दिनमा यस्ता घटना हुन नदिन अपनाउनुपर्ने सुझावसहितको प्रतिवेदन दिन दुर्घटना जाँच आयोग गठन गर्ने निर्णय गरेको थियो।, पूर्वसचिव नागेन्द्र घिमिरे संयोजक रहेका जाँच आयोगमा सदस्यमा हवाईविज्ञ दीपकप्रसाद बास्तोला, हवाई विज्ञ सुनिल थापा, हवाई मर्मत सेक्टरका इन्जिनियर एकराजजंग थापा र जाँच आयोगको सदस्यसचिवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने रहेका छन्। , आयोगले ४५ दिनको समयावधिमा दुर्घटनाको कारण पहिचान गर्ने र आगामी दिनमा त्यस्तो दुर्घटना हुन नदिन अपनाउनु र गर्नुपर्ने कारण पहिचान गरी सुझावसहितको प्रतिवेदन प्रस्तुत गर्नेछ।,
नागरिक उड्डयनले भन्यो- सामाजिक सञ्जालमा जहाज भित्रबाटै लाइभ गरेको भिडिओमा सत्यता छैन |
युवराज श्रेष्ठ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा मानिसका चित्कार सेलाएको छैन। आइतबार दिउँसोदेखि प्रतिष्ठान परिसर मानिसले भरिएका छन्। उनीहरू आइतबार भएको हवाई दुर्घटनामा परेका व्यक्तिका परिवार र आफन्त हुन्।, सरकारले सोमबार बिहानदेखि सनाखत भएका शव पोष्टमर्टम गरेर आफन्तलाई बुझाउने भनेको थियो। त्यही भएर मृतकका आफन्त शव बुझ्न अस्पताल पुगेका थिए। दिनभर पर्खिंदासमेत आफन्तको शव नपाउने छाँट देखेपछि पीडित परिवारले आक्रोश पोखे।, ‘९ बजे शव पाइन्छ भनेर ८ बजेदेखि आएर बसेको छ, भनेको बेला नहुने कस्तो टाइम हो,’ पोष्टमर्टम भवनअघि एक महिलाले भनिन्, ‘अस्पताल प्रशासनको लापरबाही हो कि, जिम्मेवार को छ?’, पोष्टमर्टम भवनअघि पीडित परिवारले आक्रोश पोख्न थालेपछि सुरक्षा सतर्कता बढाइयो। स्थिति नियन्त्रण बाहिर जान नदिन सशस्त्र प्रहरी परिचालन भयो। त्यही बेला अर्का युवाले भने, ‘३६ घण्टा कुरिसक्यो। ७७ जिल्लाबाट मान्छे आएको छ। कस्ले बुझ्ने?’, तनाव बढ्न लागेपछि पोष्टमर्टम भवनबाहिर सुरक्षाकर्मीले दुर्घटनामा परेकी प्रसिद्धी पौडेल र सरस्वती पौडेलका आफन्तलाई भित्र आउन भने। सयौंको संख्यामा रहेको भीडका सामु भित्रबाट बोलाइएका नाम बाहिर पुग्न सकेन।, पोष्टमर्टम गरेर आफन्तलाई शव बुझाउन ढिलाइ भएकाप्रति आक्रोशित युवाले भने, ‘के सारो गरिब हो, माइक पनि नभएको। यत्रो सरकार छ। जनताका समस्या पीडा नबुझ्ने!’, सुरक्षा परिचालन गरेर आफूहरू नडराउने भन्दै उनीहरूले छिटो छिटो काम गर्न आग्रह गरिरहे। काममा बाधा नपार्ने बताइरहे। तै पनि उनीहरूले सोमबार शव बुझ्न पाएनन्। रित्तै हात फर्किन बाध्य भए।, ‘तपाईंहरू छिटो काम गर्नुस् न। हामी बाधा गर्दैनौं। तिमीहरू बेचेर खान्छौ कि के हो,’ सरकारी ढिलासुस्तीप्रति आक्रोशित अर्का युवाले भने, ‘तिमीहरूका पनि बा, आमा होला। साथीभाइ होला। तिमीहरूलाई परेको भए के गथ्र्यौ?’, प्रतिष्ठानको पोष्टमर्टम भवनमा आइतबार भएको यती एयरलाइन्स ए ७२ जहाज दुर्घटनामा परेका यात्रु र चालक दलका सदस्यका शव राखिएका छन्। दुर्घटनामा परेका ६८ जनाको शव भवनमा छन्। बाँकी ३ जना अझै भेटिएका छैनन्।, पोखरा जस्तो सुलभ सहरमा नेपालकै सबभन्दा ठुलो हवाई दुर्घटना हुँदासमेत सरकारले अझै सबै यात्रु भेटाउन नसकेकोप्रति पनि भीड आक्रोशित छ।, हवाई दुर्घटनाका पूर्व तयारी गर्न सरकारले नसकेको उनीहरू बताइरहेका छन्। दुर्घटनापछि पनि छिटो छरितो तरिकाले प्रक्रिया पूरा गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन्।, यसरी पोष्टमर्टम भवनअघि आन्दोलन गरेका धम्पुसका ज्योति गुरूङ पनि एक हुन्। भाइ शिवकुमार गुरूङ अमेरिकाबाट र बुहारी अनुषा गुरूङ अष्ट्रेलियाबाट पुस २७ गते काठमाडौं ओर्लिएका थिए।, अध्ययनका क्रममा शिव अमेरिका र अनुषा अष्ट्रेलिया पुगेका थिए। २ वर्षअघि नेपाल आएर विवाह गरेर उनीहरू फेरि आ–आफ्नै गन्तव्यमा फर्केका थिए।, ‘विवाह गरेपछि एकै देशमा जान पाउँथे, तर पछि कुन देशमा बस्दा ठिक हुन्छ, त्यहीँ बस्ने भनेर भाइ अमेरिका र बुहारी अष्ट्रेलिया गएकी थिइन्,’ ज्योतिले भने।, माघे संक्रान्तिका दिन घर छिर्ने भनेर उनीहरू आइतबार काठमाडौंबाट पोखरा उडेका थिए।, उनीहरू चढेको जहाज दुर्घटना भएपछि वृद्ध बुवा आमाले केही नखाएको ज्योतिले बताए।, ‘हामीले पनि चियाबाहेक केही खाएको छैन, आमाबुवाले पनि केही खानुभएको छैन,’ उनले भने, ‘सारा परिवार शोकमा डुबेको छ, हामीले हाम्रो गुरूङ संस्कार अनुसार किरिया गर्न शव लान्छौं भन्दा ढिलासुस्ती मात्र गरेको छ।’, शव सनाखत गर्ने बेला आइतबार नै ज्योतिले भाइ र बुहारीका शव हेर्न दिएका थिए। देख्ने बित्तिकै उनले पहिचान गरिहाले। बिहान ८ बजेदेखि शव बुझ्न आउँदा पनि नपाएपछि उनी आक्रोशित बनेका थिए। जति आक्रोश पोखे पनि उनले सोमबार शव पाएनन्। , ‘घरभरी आफन्तले भरिएका छन्, शव पाएपछि दाहसंकार गर्न जम्मा भएका छन्,’ उनले भने, ‘हामीलाई हाम्रा मान्छेको शव दिन किन ढिलाइ गरिराखेको छ?’, सरकारी ढिलासुस्ती विरूद्ध आवाज उठाउन अर्का पीडित हुन्, पोखराका डिलबहादुर शाही।, उनका दाजुका छोरी संगीता शाही काठमाडौंमा ब्युटिपार्लर र बुटिक चलाउँथिन्। उनका आमा काठमाडौं बस्थिन् भने बुबा चन्द्रबहादुर शाही पोखरामा। , बुवा भेट्न संगीता आइतबार पोखरा उडेकी थिइन्। उनका बुवा पुरानो एयरपोर्ट नजिकै नागढुङ्गामा बसेका थिए। यति एयरलायन्सको जहाज भिन्दै आवाज निकालेर ढलपल गरिरहेको उनीहरूले पनि देखेका रहेछन्। , ‘एकैछिनमा जहाज पड्किएर धुँवा आयो, दाइ चन्द्रबहादुर ट्याक्सी लिएर गइहाल्नुभयो,’ डिलबहादुरले भने, ‘हिजोदेखि भएको घटनाले परिवार शोकमा छ, म शव बुझ्न हिजोदेखि आज दिनभर बसें तर सरकारले दिएन।’, छोरी दुर्घटनामा परेको खबर सुनेर संगीताका आमा आइतबार नै यती एयरलाइन्सको अर्को जहाजमा पोखरा आएकी छन्।उनीहरूले पनि अहिलेसम्म केही नखाएको डिलबहादुरले बताए।, सरकारले शव नदिएर रमिता गरेको उनको गुनासो छ।, ‘हामीले हाम्रो छोरी चिनिसकेका छौं, हेरिसकेका छौं,’ उनले भने, ‘छिटोछिटो पोष्टमर्टम गरेर दिए भइहाल्थ्यो, यहाँ त सरकारले रमिता बनाइदिएको छ।’, अस्पताल प्रशासनले शव बुझ्न भइरहेका ढिलाइबारे पनि पीडित परिवारलाई केही जानकारी दिएको छैन। जसले गर्दा उनीहरूको धैर्यताको बाँध फुट्दैछ।, ‘माइकिङ गरेर यस्तो काम भइरहेको छ भनेर यथार्थ भनिदिए पनि हुन्थ्यो नि,’ डिलबहादुरले भने।, विमान दुर्घटनामा परेर ज्यान गुमाएका ६९ जनाको शवमध्ये हालसम्म ४८ जनाको सनाखत भइसकेको छ। कास्की प्रहरीका अनुसार दुर्घटनामा परेका व्यक्तिका आफन्तले पहिचान गरेका आधारमा सनाखत भएको हो। , यसरी सनाखत भएका व्यक्तिमध्ये २३ जनाको मात्र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमर्टम हुने भएको छ। बाँकी ४६ जनाको शव काठमाडौं लगेर पोष्टमर्टम गर्ने अस्पतालले जनाएको छ। , ‘शव पहिचान गर्न सकिएका मात्र यहाँ पोष्टमर्टम हुन्छ, पहिचान हुन नसकेका शव आफन्तले पहिचान गरे डिएनए लगायतका परीक्षण गरी पहिचान गर्न भोलि काठमाडौं पठाउँछौं,’ प्रतिष्ठानका निर्देशक डा. भरत खत्रीले भने।, दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका आफन्त पोखरामा भेला भए पनि भोलिदेखि काठमाडौंमा शव कुर्नुपर्ने अवस्था आएको छ।, पोखरामा पोष्टमर्टम हुने २३ वटा शव मात्र प्रतिष्ठानबाट आफन्तलाई बुझाउने अस्पतालले जनाएको छ।, अस्पतालका निर्देशक डा. खत्रीले पीडित परिवारले आरोप लगाए जस्तो ढिलासुस्ती नभएको जिकिर गरे।, ‘संसारमै यति छिटो काम हुँदैन, हामीले छिटो छिटो काम गरिरहेका छौं,’ उनले सेतोपाटीलाई भने, ‘सबै प्रक्रिया पूरा गर्दा समय त लागिहाल्छ नि।’, अस्पतालको पोष्टमर्टम भवनमा ३ वटा बेड छन्। जहाँ २ वटा बेड पोष्टमर्टमका लागि चलाएको डा. खत्रीले बताए।, पोष्टमर्टम गर्न काठमाडौंबाट आएका २ जना र पोखराबाट ५ जना डाक्टर खटिएको उनले बताए।, दुर्घटनामा ज्यान गुमाएका परिवारका आफन्तले भने ७ जना नभई ५० जना डाक्टर परिचालन गर्न माग गरेका छन्।, ‘यति ठूलो दुर्घटना भएको छ, ७ जनाले २/२ वटा शव पोष्टमर्टम गर्दा अझै ढिलो हुन्छ, आक्रोशित बनेका ज्योति गुरूङले भने, ‘यस्तो बेला सरकारले ५० जना डाक्टर खटाएर छिटो छिटो शव जिम्मा लगाउनुपथ्र्यो।’ ,
,
पोखरा जहाज दुर्घटना: अस्पतालमा दिनभर कुरे तर पीडित परिवारले पाएनन् शव |
सेतोपाटी संवाददाता माघी महोत्सव मनाइरहेका बेला हाइड्रोजन ग्यासको सिलिन्डर पड्किँदा कपिलवस्तुमा एक जनाको ज्यान गएको छ।, बेलुनमा भर्ने हाइड्रोजन ग्यासको सिलिन्डर पड्किएर विस्फोट हुँदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ।, जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर ९ चौहवामा सञ्चालित बाणगंगा नगर स्तरीय माघी महोत्सवमा सिलिन्डर पड्किँदा बाणगंगा ८ सिसेनी बस्ने अन्दाजी ६५ वर्षीय नासिद अहमद पाखियाको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ।, बाणगंगामा सोमबारदेखि चौथो माघी महोत्सव सुरू भएको थियो। सिलिन्डर पड्किँदा २ जना घाइते भएका छन्।, स्थानीय कमल चौधरीका अनुसार मृतक पाखिया बेलुनमा हावा भरेर बेच्ने व्यापारी हुन्। उनका दुई २ छोरा घाइते भएको प्रहरीको भनाइ छ। , महोत्सव चलिरहेका बेला दुर्घटनामा एक जनाको ज्यान गएपछि महोत्सव एक दिनका लागि स्थगित भएको छ।, थारू कल्याणकारिणी सभा बाणगंगाले उक्त महोत्सव सञ्चालन गर्दै आएको छ।,
बेलुनमा भर्ने ग्यासको सिलिन्डर पड्किँदा एक जनाको मृत्यु |
रासस मनाङको अन्नपूर्ण पदमार्ग यात्रामा आएकी एक पर्यटकको मृत्यु भएको छ।, कोरियन पर्यटक ५३ वर्षीया जोनसिनको मृत्यु भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना मनाङका प्रमुख लेखनाथ गौतमले जानकारी दिए।, अन्नपूर्ण पदमार्ग अन्तर्गतको थोराङपासको दुई सय मिटर तल कोरियन पर्यटक मृतावस्थामा भेटिएको उनले बताए।, प्रमुख जिल्ला अधिकारी सुप्रभा ढुंगेल खनालका अनुसार उनी कुनै एजेन्सीसँग समन्वय नगरी एक्लै मनाङ भ्रमणमा आएको पत्ता लागेको छ।, 'जोखिम यात्रामा कुनै पोर्टर, एजेन्सीसँगको समन्वबिना आउँदा अप्रिय घटना हुने गरेको छ। पर्यटकले बुझेर आएमा बचाउन सकिने थियो,' उनले भनिन्।,
हिँड्दाहिँड्दै पर्यटकको मृत्यु |
रासस जुम्लाको पातारासी गाउँपालिका–६ मा जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मुत्यु भएको छ।, सदरमुकाम खलंगा बजारबाट पातारासीका लागि जाँदै गरेको ग १ ज ४०३५ नम्बरको जिप आज अपराह्न दुर्घटना हुँदा सो गाउँपालिका–१ का ४२ वर्षीया छोदेन लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक यामबहादुर बुढामगरले जानकारी दिए।, घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनासहित स्थानीयवासीले घाइतेको उद्धार गरेका हुन्। घाइते १५ जनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको प्रतिष्ठानका निर्देशक राजीव शाहले जानकारी दिए।, सडकबाट ५० मिटर तल तिला नदीमा जिप खसेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। जिपमा सवार चालकसहित १७ जना रहेको र जिप चालक फरार रहेको प्रहरीले जनाएको छ।, घाइते हुनेमा १३ वर्षीय उर्जेन लामा, ७४ वर्षीया छिरिङ साङ्मु लामा, २४ वर्षीया छिरिङ पुटिङ लामा, ४२ वर्षीय जिग्मे लामा, १२ वर्षीय उर्जेन हिक्सिन, १७ वर्षीय पेमा लामा, २३ वर्षीया निग्मा साङ्मु, १७ वर्षीय तुल्सान तामाङ, ४० वर्षीय कार्मा लामा, २४ वर्षीय छिरिङ पाल्जो, २७ वर्षीय एसएसआई तामाङ, १४ वर्षीय सोनम तामाङ र ८ वर्षीया पेमा डोल्मा तामाङ रहेको प्रहरीले जनाएको छ। , घाइतेमध्ये ६२ वर्षीया मिम्जाम लामा र ६७ वर्षीय कार्मा लामाको स्वास्थ्य अवस्था गम्भीर रहेको प्रतिष्ठानले जनाएको छ।,
जिप दुर्घटनामा एकको मृत्यु, १५ जना घाइते |
रासस स्कुलबाट घर फर्किने क्रममा बेपत्ता भएकी खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित काभ्रेकी १७ वर्षीया बालिका रञ्जिता दाहाल मृत फेला परेकी छन्।, उनी त्रिधार्मिकस्थल हलेसीस्थित महेन्द्रोद्धय माध्यमिक विद्यालयबाट आइतबार दिउँसो करिब तीन बजेतिर घर फर्किने क्रममा सम्पर्कविहीन भएकी थिइन्। आज बिहान आफ्नै घर नजिकै रहेको खन्यु (घाँसजन्य वनस्पति) को फेदमा उनी मृत फेला परेकी हुन्।, महेन्द्रोद्धय मावि हलेसीको कक्षा–१० मा अध्ययनरत बालिका माघ ३ गतेदेखि विद्यालयमा आयोजना गरिएको नगरस्तरीय भलिबल, फुटबल र नृत्य प्रतियोगिताको तयारीका लागि गाउँकै साथीसँग विद्यालय पुगेकी थिइन्। प्रतियोगिताको तयारी सकेपछि उनी साथीसँगै दिउँसो साढे तीन बजेतिर घर फर्केकी थिइन्।, बाटैमा पर्ने साथीको घरमा रोटी खान आग्रह गर्दा हतार छ भन्दै रोटी बोकेर हिँडेकी बालिका घरभन्दा करिब २०० मिटर टाढा मृत फेला परेकी छन्। विद्यालयबाट घर फर्केकी छोरी बाटैमा मृत फेला परेपछि परिवार शोकमा परेको छ।, घटनास्थलमा पातलो सलको टुक्रा घाँटीमा र एक टुक्रा सल रूखको हाँगामा रहेको अवस्थामा शव भेटिएको महादेवस्थानका वडाध्यक्ष कमल गिरीले बताए।, 'ओठ, आँखा, घाँटीमा चोट देखिएकाले घटनालाई शंकास्पद मानिएको छ,' उनले भने, 'प्रहरी प्रशासनले कसैको दबाबमा नपरी सत्यतथ्य छानबिन गर्नुपर्छ। घटनाको अवस्था हेर्दा हत्या गरेर झुण्ड्याइएको हुनसक्छ।' , घटनाको वियषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारूङले बताए। बालिकाको शव परीक्षणपछि 'हत्या गरेर झुण्ड्याइएको जस्तो बनाउन खोजिएको वा आफैं झुण्डिएको' भन्ने विषय अस्पतालको प्रतिवेदनमा खुल्ने प्रहरीले बताएको छ।, बालिकाको शव अहिले परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल ल्याउने तयारी भइरहेको जनाइएको छ। बालिकाको शंकास्पद शव भेटिएपछि विद्यालयको कार्यक्रमसमेत स्थगित गरिएको आयोजकले जनाएको छ।, हलेसी क्षेत्रमा यसअघि विभिन्न समयमा सुगा राई र ज्ञानीमायाँ विश्वकर्माको हत्या भएको थियो। उनीहरू दुवैको हत्यामा संलग्न अहिलेसम्म पत्ता लागेको छैन।,
स्कुलबाट घर फर्किँदै गरेकी बालिका मृत फेला |
रासस रूकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाले वडावडामै पुगेर गर्भवतीको स्वास्थ्य जाँच गर्ने गरेको छ। उपाध्यक्ष स्वास्थ्य कार्यक्रमअन्तर्गत गाउँपालिकाले प्रत्येक वडामा पुगेर गर्भ जाँच तथा उनीहरूको स्वास्थ्य परीक्षण गर्ने गरेको हो।, पालिकाले गर्भवतीलाई सेवा दिने उद्देश्यले प्रत्यक वडामा तीन/तीन महिनामा शिविरको आयोजनागर्ने गरेको गाउँपालिका उपाध्यक्ष भूपेन्द्र बुढाले जानकारी दिए। उनका अनुसार उपाध्यक्ष स्वास्थ्य कार्यक्रमअन्तर्गत गर्भवती जाँच कार्यक्रमले पालिकाका विकट क्षेत्रका गर्भवतीलाई राहत मिलेको छ। , पालिकाले दुई महिनायता गाउँपालिकाको १४ वटै वडामा पुगेर एक सय २१ गर्भवतीलाई स्वास्थ्य सेवा प्रदान गरेको छ। भिडिओ एक्सरे, स्वास्थ्य जाँच र परामर्श सेवा दिइएको उपाध्यक्ष बुढाले जानकारी दिए।, 'केहीको अवस्था सामान्य नै छ,' उपाध्यक्ष बुढाले भने, 'उल्टो अवस्थामा रहेको, सालनाल तल झरेको पनि भेटिएकाले सुत्केरी हुने बेलामा सुविधा सम्पन्न अस्पतालमा जान परामर्श दिएका छौं।', गर्भावस्थामा पुर्याउनुपर्ने ध्यान, खानपान, हेरविचारलगायत कुरा सिकाएर आवश्यकताअनुसार केही औषधि पनि गर्भवतीलाई दिइएको छ। एक सय ५० जना महिलाको निःशुल्क स्वास्थ्य बीमा गरिएको छ। स्वास्थ्य संस्थामा आएर नियमित गर्भ जाँच गरेमा मात्र निःशुल्क स्वास्थ्य बीमा गरिदिने व्यवस्था भएकाले स्वास्थ्य सस्थामा आउनेको संख्या वृद्धि हुने विश्वास उनले गरे।, गर्भवतीसँग उपाध्यक्ष कार्यक्रमअन्तर्गत गाउँपालिकाले स्वास्थ्य संस्थामा छोरी जन्मेमा निःशुल्क बीमा गरिदिने व्यवस्था गरेको छ। गर्भ जाँच गराएको वर्ष र स्वास्थ्य संस्थामा छोरी जन्मेको वर्षमा गाउँपालिकाले परिवारका पाँच सदस्यको निःशुल्क स्वास्थ्य बीमा गरिदिने व्यवस्था गरेको छ। यस कार्यले स्वास्थ्य संस्थामा सर्वसाधारणको पहुँच वृद्धि गर्ने देखिएको छ।, यसका साथै यस कार्यक्रमले घरेलु हिंसा, लैंगिक हिंसा, यौन हिंसामा परेका महिलाहरूसँग उपाध्यक्ष कार्यक्रम पनि सञ्चालन गरिरहेको छ। यसका लागि गाउँपालिका उपाध्यक्षसँग सिधा सम्पर्क हुनेगरी हटलाइन नम्बर सेवा सञ्चालन भएको छ। थप परामर्श तथा आर्थिक सहयोगका पनि गर्न सकिने जनाइएको छ। ,
गर्भवती खोज्दै वडावडामै पुग्छ यो गाउँपालिका |
सेतोपाटी संवाददाता हाल काठमाडौं उपत्यकासहित देशैभर हुस्सु र कुहिरो लागिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, देशको उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक वा दुई स्थानमा हल्का हिमपात तथा तराईमा बाक्लो हुस्सु र कुहिरो लागेको मौसमविद प्रतिभा मानन्धरले जानकारी दिइन्।, हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकाले पहाडी भू-भागमामा आंशिकदेखि सामान्य बदली रहने र तराईका केही स्थानमा हुस्सु-कुहिरो लागेको छ।, आज दिउँसो र राति सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश १ का पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने छ।, महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।, मौसमविदका अनुसार आज बिहान लागेको बादल अबेर खुल्ने तर कडा घाम नलाग्ने सम्भावना छ।, ‘हाल लागिरहेको कुहिरो केही अबेर खुले पनि कडा घाम लाग्ने सम्भावना छैन। उच्च पहाडी क्षेत्रमा हिमपात र तराईमा बाक्लो कुहिरो लाग्ने देखिन्छ,’ मौसमविद मानन्धरले भनिन्।, आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम् तापक्रम ४.५ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ।, यस्तै भोलि (बुधबार) पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यत: सफा रहनेछ।, गण्डकी र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।, राति सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यत: सफा रहनेछ। सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।, यसैगरी, बिहीबार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरुका थोरै स्थानहरूमा साथै बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।,
देशैभर हुस्सु र कुहिरो, उच्च हिमाली क्षेत्रमा हिमपात |
सेतोपाटी संवाददाता पोखरामा आइतबार यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भई पहिचान हुन नसकेका, विदेशी नागरिक र चालकदलका सदस्यको शव मंगलबार हेलिकप्टरबाट काठमाठौँ ल्याइने भएको छ।, दुर्घटनामा परेकामध्ये हालसम्म ७० जनाको शव फेला परेकामा पहिचान भएको २४ जनाको शव पोखरामा परीक्षण गरिने र बाँकीको नेपाली सेनाको हेलिकप्टरबाट मंगलबार बिहान ८ बजे काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा थप परीक्षणका लागि लगिने कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले बताए।, उनकाअनुसार आफन्तबाट पहिचान भएका शवहरु पोखरामा नै शवपरीक्षण गरी परिवारलाई हस्तान्तरण गरिने छ।, पहिचान हुन नसकेका शवको हवाई दुर्घटनाको अन्तर्राष्ट्रिय प्रोटोकलअनुसार मृतकको शरीरको भिसेरा र डिएनए परीक्षण लगायतका अन्य आवश्यक प्रक्रिया पूरा गरेर मात्र हस्तान्तरण गर्न सकिने राय काठमाडौँबाट गएका फरेन्सिक विभागका चिकित्सकहरुले दिएका छन्।, शव काठमाडौं ल्याउन सोमबार सेनाको हेलिकप्टर पोखरा पुगेको थियो। ,
पोखरामा जहाज दुर्घटना: सनाखत नभएका शव आज काठमाडौं ल्याइने |
सेतोपाटी संवाददाता आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकामध्ये तीन वटा शव आफन्तको जिम्मा लगाइएको छ।, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टम सकेपछि आवश्यक प्रक्रिया पूरा गरेर तीनवटा शव आफन्तको जिम्मा लगाइएको कास्की जिल्लाका प्रहरी प्रमुख अजय केसीले जानकारी दिए।, प्रहरी प्रमुख केसीका अनुसार विदेशी यात्रु, चालक दलका सदस्य र पहिचान नभएका ४५ देखि ४९ वटा शव आज काठमाडौं पठाउने तयारी भइरहेको छ। , शवलाई काठमाडौं पठाउन आवश्यक सबै तयारी पुरा भएको र अस्पतालले हस्तान्तरण गर्ने वित्तिकै काठमाडौं पठाउने उनले जानकारी दिए। शव लिनका लागि नेपाली सेनाको हेलिकोप्टर सोमबारनै पोखरा गएको थियो। , ‘सकेसम्म १०-११ बजेभित्रै शव काठमाडौं पठाउने हाम्रो तयारी छ। अस्पतालले कति चाडो गर्छ त्यतिनै छिटो शव पठाउँछौ’, उनले भने।, प्रहरी प्रमुख केसीका अनुसार पहिचान भएका पोखरा आसपासका शव भने अस्पतालबाटै प्रक्रिया पुर्याएर आफन्तलाई जिम्मा लगाइने भएको छ। , यसैबीच दुर्घटनामा परेकामध्ये दुई जनाको अवस्था भने अझै थाहा हुन सकेको छैन। उनीहरुको खोजी तथा उद्धार कार्य बिहानै बाट सुरू गरिएको केसीले जानकारी दिए।, आइतबार बिहान दुर्घटना भएको यती एयरलाइन्सको विमानमा चालक दलका चार सदस्यसहित कुल ७२ यात्रु सवार थिए। जसमध्ये हालसम्म ७० व्यक्तिको शव भेटिएको छ। , काठमाडौंबाट पोखराको लागि आइतबार बिहान १०: ३२ बजे उडेको यती एयरलाइन्सको ‘एटीआर ७२’ विमान पोखरा टावरसँग १०:५० बजेबाट सम्पर्क टुटेको थियो। अवतरण हुनु केही समय अगाडि मात्र जहाज दुर्घटनामा परेको थियो।,
यति एयर दुर्घटनाः तीन शव आफन्तले बुझे, ४५ देखि ४९ शव काठमाडौं ल्याइँदै |
सेतोपाटी संवाददाता चोभारमा बागमती किनार कार खस्दा बेपत्ता भएका पुरूषको खोजी जारी छ। , सोमबार साँझ खोकनातर्फ जाँदै गरेको कार किनारमा खसेको थियो। बा ५ च ५६५४ नम्बरको कार खस्दा एक महिला घाइते भएकी थिइन्। , एक जना पुरूष भने बेपत्ता भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक प्रविण पोखरेलले जानकारी दिए। , उनका अनुसार अहिले विपद्को टोलीले बेपत्ताको खोजी गरिरहेको छ। प्रहरीले र्याफ्टिङ गरी बेपत्ता भएको हुनसक्ने सम्भावित ठाउँमा खोजी गरिरहेको ट।, बेपत्ता हुनेमा दक्षिणकाली नगरपालिका-१ चाल्नाखेल बस्ने अन्दाजी ४७ वर्षीय राजकुमार खत्री छन्। , यस्तै उनकी श्रीमती अम्बिका लामिछाने खत्री घाइते छिन्। कार दुर्घटना भएपछि प्रहरीले उनको उद्धार गरी बल्खुस्थित बयोधा अस्पतालमा पुर्याएको थियो। , उनी बोल्न सक्ने अवस्थामा छिन्। उनले नै श्रीमानसँगै कारमा सवार रहेको बताएपछि प्रहरीको टोली घटनास्थलमा पुगेको हो।, प्रहरीले गएराति नै बागमती नदी किनारमा खसेको कार क्रेनको मद्दतले निकालिसकेको छ। उक्त कारलाई प्रहरी प्रभाग भैसेपाटीमा राखिएको छ। ,
अझै फेला परेनन् चोभारमा कार खस्दा बेपत्ता भएका पुरूष |
रामबहादुर थापा कसको जीवनमा कुन वर्ष अन्तिम बनेर आइपुग्छ, के थाहा? गायिका निरा छन्त्यालको जीवनमा पनि भइदियो, त्यस्तै। ख्याल-ख्यालमै गाएको गीत आफ्नै जीवनमा मेल खान आइपुग्यो। कस्तो दुर्भाग्य। , प्रत्यक्ष दोहोरीमा चर्चित गायक राजु परियारसँगको घम्साघम्सीमा निराले जवाफ फर्काएका थिए–, ‘हे... सब मरिन्छ, त्यही अन्तिम वर्षमा,
बाँचुञ्जेली बाँचम् न हर्षमा...’ , जीवनलाई खुसीसाथ जिउनुपर्छ भन्ने उनै निरा आज आफन्त र शुभेच्छुकलाई शोकमा छाडेर आफू भने भौतिक संसारबाट अलप भएकी छन्। बाइस वर्षको अल्पायुमै उनको इहलीला सकिएको हो। , पोखराको सेतीखोंचमा आइतबार भएको यती एयरलाइन्सको जहाज दुर्घटनासँगै निराको मखमली आवाज पनि उतैकतै बिलायो। लोकदोहोरी क्षेत्रमा जबर्जस्त उदाएकी गायिका छन्त्यालले असमयमै मृत्युवरण गर्नुपर्यो।, गत वर्ष उनी आफैंले गाएको गीतले भनेझैं, निराका लागि यस वर्ष (२०७९) नै अन्तिम बन्यो। न अब कतै युट्युबमा, न मेला र महोत्सवका झकिझकाउ मञ्चमा उनलाई प्रत्यक्ष हेर्न र सुन्न नै पाइने छ। केबल स्वजनका स्मृति र आफ्ना सिर्जनामा निरा बाँचिरहनेछिन्। , बागलुङको बडिगाड गाउँपालिका-३ सिसाखानीमा जन्मेकी निराको जीवनभर नेपाली लोकसंगीतको सेवा गर्ने उत्कट अभिलाषामा पनि ठेस पुगेको छ। , लोकगायक विष्णु खत्रीले नेपाली संगीत जगतले एउटा प्रतिभावान कलाकार गुमाएको प्रतिक्रिया दिए।, 'प्रत्यक्ष लोकदोहोरीमा उहाँको छुट्टै पहिचान बनिरहेको थियो, मञ्चीय कार्यक्रममा उहाँको प्रस्तुति आकर्षक हुने गर्थ्यो', गायक खत्रीले सम्झिए।, गायक खत्री र गायिका छन्त्यालको सहकार्यमा गत वर्ष पञ्चेबाजा गीत ‘फूल केशरी’ सार्वजनिक भएको थियो।, 'बैनीले अर्को गीत गर्नुपर्छ है दाइ भनिरहनुभएको थियो, नयाँ शैलीको दोहोरीबारे सरसल्लाहमै थियो, अब अधुरै रहने भयो', खत्रीले सुनाए। , उनीहरूबीच बुधबार बागलुङको भीमपोखरामा हुने माघे सङ्क्रान्ति मेलामा एउटै मञ्च साझा गर्ने तय भइसकेको थियो। खत्रीकै समन्वयमा निरा भीमपोखराको मेलामा जाँदै थिइन्। स्थानीय प्रगतिशील युवा क्लबले उनीहरूलाई आमन्त्रण गरेको थियो। , गायिका निराको निधनले मर्माहत बनेका गायक खत्रीले भीमापोखराको उक्त मेलामा आफू पनि नजाने निधो गरेका छन्।, 'बैनीको दुःखद् घटनापछि मैले पनि त्यो मञ्चमा उक्लिएर एक्लै गीत नगाउने निर्णय गरेँं', गायक खत्रीले भने, 'मैले नै सिफारिस गरेर निरा बैनी भीमापोखरा आउने योजना बनेको थियो।', आइतबार माघे सङ्क्रान्तिका अवसरमा पोखरामा हुने छन्त्याल समुदायको कार्यक्रममा भाग लिएर गायिका छन्त्याल मङ्गलबार म्याग्दी महोत्सवमा पुग्ने समयतालिका थियो। त्यहीँबाट बागलुङको भीमापोखरा जाने कार्यक्रम थियो। , 'बैनी निरासँग मञ्चीय कार्यक्रममा दर्शक, स्रोतालाई मनोरञ्जन दिलाउने कला र शैली अनौठो थियो', गायक खत्रीले भने, 'त्यहीँ कारण मेला, महोत्सवमा उहाँको व्यस्तता बढ्दो थियो, धेरैतिर बोलाउँथे।', सङ्गीत क्षेत्रमा भविष्य खोज्दै छन्त्याल चार वर्षअघि काठमाडौं छिरेकी थिइन्।, गायनमा सफल हुँदै गएपछि उनको माग पनि बढ्दै गएको थियो। शनिबारमात्र काठमाडौंमा आयोजित कार्यक्रममा उनले प्रस्तुति दिएकी थिइन्। सोही दिन टुँडिखेलामा सिसाखानीको ऐतिहासिक घाटु नाच प्रदर्शनका लागि पनि उनी सक्रिय भएर लागेकी थिइन्। , छन्त्यालले विद्यालय तहको पढाइ गाउँकै सिसाखानी माविमा पूरा गरेकी थिइन्।, बुवा मनबहादुर र आमा लीला छन्त्यालको कोखबाट जन्मेकी निराको निधनपछि जन्मगाउँ सिसाखानीमा पनि शोक छाएको छ। उनको शव बुझ्न वडाध्यक्षसहित आफन्त पोखरा झरेका छन्। ,रासस,
कसको जीवनमा कुन वर्ष अन्तिम बनेर आइपुग्छ ...! |
नवीनबाबु गुरूङ पोखरामा आइतबार यती एयरलाइन्सको जहाज दुर्घटनामा निधन भएकामध्ये २५ वटा शव काठमाडौं ल्याइएको छ।, नेपाल नागरिक उड्डयन प्राधिकरणले अहिलेसम्म ७० जनाको शव फेला परेकोमध्ये २२ वटा शव सनाखत गरी पोखरामै बुझाइएको बताएको छ।, ‘बाँकी ४८ शवमध्ये २५ वटा शव सेनाको वायुयानबाट काठमाडौं ल्याइएको छ’, नागरिक उड्डयनले भनेको छ, ‘बाँकी २३ वटा शव दोस्रो वायुयानबाट काठमाडौं ल्याउने क्रम जारी छ।‘, उक्त शव काठमाडौं शिक्षण अस्पतालबाट पोस्टमर्टम गरी आफन्तलाई बुझाइने प्राधिकरणले जनाएको छ।, शव काठमाडौं ल्याउन सोमबार सेनाको हेलिकप्टर पोखरा पुगेको थियो। , तस्बिरहरू:,
पोखरा जहाज दुर्घटना: पोस्टमर्टमका लागि २५ शव ल्याइयो काठमाडौं (तस्बिरहरू) |
सेतोपाटी संवाददाता कपिलवस्तुका जिल्ला न्यायाधीश भुवन गिरीविरूद्ध आफूले दिएको बलात्कारको जाहेरी दर्ता नभएपछि उनकी श्रीमतीले सर्वोच्च अदालतमा प्रदर्शन गरेकी छन्। , उनी लगायत अन्य मुद्दाका पीडित महिलाले पनि सर्वोच्च अदालत उनलाई साथ दिँदै प्रदर्शन गरेको प्रहरीले जनाएको छ। , प्रदर्शनका क्रममा न्यायाधीश गिरीकी श्रीमती बेहोस भएर लडेकी थिइन्। त्यसपछि प्रहरीले उनलाई अस्पताल लगेको सर्वोच्चको सुरक्षा स्रोतले बताएको छ। , प्रहरीका अनुसार, प्रदर्शनमा विनु यादव लगायतका महिलाहरू सहभागी थिए। , यादवका अनुसार अहिले ती महिलालाई अस्पतालमा उपचारत छिन्। , ‘जाहेरी दिएको दुई महिनासम्म पनि दर्ता नभएपछि उहाँले प्रदर्शन गर्नुभएको र हामी उहाँलाई साथ दिइरहेका थियौं,’ उनले भनिन्, ‘दिदी एक्कासी बेहोस हुनुभयो। प्रहरीले पनि मलाई जिम्मा लगाएर पठाएको छ। अहिले अस्पतालमा छौं।’ , न्यायाधीशको शक्तिको आडमा उनले गरेका अपराध लुकाउन आफ्नो जाहेरी दर्ता नगरिएको आरोप पीडितको छ। , न्यायाधीश गिरीले आफूलाई बलात्कार गरेको भन्दै उनकी श्रीमतीले गत मंसिर ३ मा जाहेरी दिएकी थिइन्। प्रहरीले अहिलेसम्म उक्त जाहेरी दर्ता गरेको छैन। , केही दिन अघि कपिलवस्तु जिल्ला प्रहरी कार्यालयका डिएसपी मिमबहादुर घलेलाई हामीले जाहेरी दर्ता किन नभएको भनेर सोधेका थियौं। जाहेरी दर्ता नगरे पनि अनुसन्धान गर्दै गरेको उनले बताएका थिए।, त्यहाँका एसपी प्रेमबहादुर बस्नेतले समेत अनुसन्धान भइरहेको बताएका थिए। के बारे अनुसन्धान हुँदैछ भन्ने कुराको जानकारी उनीहरूले दिएनन्।, कपिलवस्तु प्रहरीले जाहेरी दर्ता किन नगरेको भन्ने स्पष्ट जवाफ नदिएपछि हामीले प्रहरी हेडक्वाटरका प्रवक्ता टेकप्रसाद राईलाई सोधेका थियौं। सुरूमा उनले पीडित जाहेरी लिएर आउनेबित्तिकै दर्ता गर्नुपर्ने प्रहरीको कर्तव्य रहेको बताए।, न्यायाधीश गिरीबारे भने निर्दोषिताको सिद्धान्तअनुसार अहिले अनुसन्धान भइरहेको जानकारी दिएका थिए।, ‘मैले त्यहाँ बुझेँ, प्रारम्भिक अनुसन्धान हुँदै रहेछ। पीडितको स्वास्थ्य जाँच लगायतका काम भएका छन्। कतिपय अवस्थामा निर्दोषलाई पनि मुद्दा आउन सक्छ। कोही दोषी नछुटून्, निर्दोष नपरून् भन्ने सिद्धान्तअनुसार पनि हेर्नुपर्ने हुन्छ। त्यसैले जाहेरी दर्ता गर्नुअघि अनुसन्धान भइरहेको छ,’ उनले भनेका थिए।, प्रहरीले जाहेरीमाथि नै अनुसन्धान गरिरहेको देखिन्छ। यस्तो अनुसन्धान कति समयमा टुंगिन्छ भन्ने प्रश्नमा उनले भनेका थिए, 'अनुसन्धान सकिएपछि जाहेरी दर्ता हुने कि नहुने टुंगो भन्ने लाग्छ।', पीडितले वैवाहिक बलात्कारको उजुरी लिएर आउँदा त्यसलाई दर्ता नगरी प्रहरीले न्यायाधीश गिरीको निर्दोषिताबारे डेढ महिनादेखि अनुसन्धान गरिरहेको छ। महान्यायाधीवक्ता कार्यालयका प्रवक्ता सञ्जिवराज रेग्मीले पनि जाहेरीबारे शंका लागे प्रहरीले छानबिन गर्न पाउने तर यति लामो समय लगाउन भने नपाइने बताउँछन्।, ‘कसैले आफूमाथि अपराध भयो भनेर आएपछि प्रहरीले जाहेरी दर्ता गर्नुपर्ने कानुनी व्यवस्था छ। जाहेरीबारे शंका लागे प्रहरीले बुझ्न त पाउँछ। जाहेरी झुटो हो कि होइन भनेर बुझ्न दुई-तीन दिनको समय लिनु ठीकै हो। तर लामो समय जाहेरीमा निर्णय नदिई बस्ने छुट प्रहरीलाई छैन। जाहेरी दर्ता नगर्ने भए लिखित रूपमा हुँदैन भनेर निर्णय दिनुपर्छ,’ उनले भने, ‘त्यसपछि पीडितले उपल्लो कार्यालय वा सरकारी वकिललाई निवेदन दिन सक्छ।’, कानुन, नियम र नीति जे भए पनि न्यायाधीशको शक्तिकै कारण प्रहरीले जाहेरी दर्ता नगरेको पीडितको भनाइ छ।, ‘मलाई संरक्षण गर्नुपर्ने प्रहरीको दायित्व थियो। तर पीडक शक्तिमा छ, उसकै कुरा सुन्यो,’ पीडितले शुक्रबार सेतोपाटीसँग भनिन्।, पीडितले मंसिर ३ गते प्रहरीमा वैवाहिक बलात्कारसम्बन्धी कसुरमा हदैसम्मको कारबाही गरी पाऊँ भन्दै जाहेरी दिएकी थिइन्। त्यसअघि पनि उनले पटकपटक प्रहरीमा उजुरी गर्दै आएको बताइन्। उनले पहिलोपटक कैलालीमा महिला हिंसाको उजुरी दिएकी थिइन्। त्यतिखेर उनको उजुरीमा कारबाही अघि बढेन। गिरीले नै प्रहरी र आफूसँग कुरा गरेर त्यो उजुरी सामसुम गर्न लगाएको उनको आरोप छ।, प्रहरीले पनि उनको यो आरोपलाई बल पुग्ने गरी व्यवहार गरेको देखिन्छ। आफूकहाँ आएको जाहेरी दर्ता नगरी जाहेरीमाथि नै उसले अनुसन्धान गरिरहेको छ। पीडितलाई दिनुपर्ने संरक्षण र सूचना समेत दिएको छैन।, गिरीविरूद्ध न्यायपरिषदमा पनि पीडितले उजुरी दिएकाले त्यसमा परिषदले के गर्छ भन्ने कुरेर बसेको स्रोतको भनाइ छ। बलात्कारसम्बन्धी उजुरीमा कारबाही गर्ने वा नगर्ने विषयमा प्रहरीलाई लेखी पठाउने अधिकार भने परिषदलाई छैन। तर न्यायाधीश गिरीबारे यति गम्भीर मुद्दामा जाहेरी परेको कुरा पीडितले नै जानकारी दिएपछि परिषदले उनलाई दैनिक कामबाट भने अलग राख्न सक्थ्यो।, परिषद सदस्य रामप्रसाद श्रेष्ठले बलात्कारसम्बन्धी मुद्दा हेर्ने क्षेत्राधिकार परिषदको नभई नेपाल प्रहरीकै भएको बताए।, ‘उहाँबारे परेको बलात्कार मुद्दामा त परिषदले कारबाही गर्ने होइन। त्यो प्रहरीकै क्षेत्राधिकार हो। अब उहाँविरूद्ध जाहेरी नै परेपछि माथि काजमा बोलाउने वा नबोलाउने भन्ने निर्णय गर्न बैठक बस्नुपर्छ,’ उनले भने, ‘बैठक भने कोरम नपुगेकाले अहिले बस्न सकेको छैन।’, पीडितले भने आफूले प्रहरी, मानव अधिकार र परिषदमा समेत गएर आफ्नो समस्या सुनाउँदा पनि सुनुवाइ नभएको बताइन्। उनको निवेदन आएपछि आयोगले प्रहरीलाई र न्यायपरिषदलाई पत्र लेखेको थियो। शुक्रबार पीडितले मानवअधिकार आयोगसँग आफूले दिएको उजुरीमा के कारबाही भयो भन्दै सोध्न गएकी थिइन्। आयोगले किन दर्ता नगरेको भनेर फेरि चिठी लेखिदिने जानकारी दिएको पिडितले बताइन्।, मंसिर ३ गते पीडितले जाहेरी पेस गरेलगत्तै प्रहरीले उनको स्वास्थ्य जाँच भने गराएको थियो। घटनास्थल मुचुल्का समेत उठाउन जाँदा न्यायाधीश गिरीले उल्टै उनीविरूद्ध पनि पैसा चोरी गरेको आरोप लगाउँदै उजुरी दिए। त्यसपछि प्रहरीले जाहेरी र चोरीको उजुरी दुवै दर्ता गरेन।, ‘म पहिला जाहेरी लिएर गएकी थिएँ। स्वास्थ्य जाँच र मुचुल्का उठाइसकेपछि प्रहरीले त उसको पनि उजुरी आयो भन्छ। उनीहरूले मेरो जाहेरी दर्ता गर्नुको साटो उल्टै मलाई पनि पक्राउ गर्ने जस्ता कुरा गर्न थाले। अनि म त्यहाँ बस्ने वातावरण नभएपछि काठमाडौं आएकी छु,’ पीडितले भनिन्।, महिना दिनदेखि काठमाडौं आफन्तको घरमा बसेकी पीडितले मानवअधिकार आयोगमा प्रहरीविरूद्ध उजुरी दिएकी छन्। न्यायाधीश गिरीविरूद्ध जाहेरी दिएपछि कपिलवस्तुमा बस्ने वातावरण नभएको उनले बताइन्।, ‘काठमाडौंमा आफन्तको घरमा बसेकी छु। उसले मलाई आफ्ना मान्छे लगाएर धम्क्याइरहन्छ। मलाई डर लागिरहेको छ,’ उनले भनिन्।, उनीहरूको पाँच वर्षअघि बिहे भएको थियो। बिहे गरेको अर्को वर्ष पेटमा बच्चा बसेपछि समस्या सुरू भएको पीडितले बताइन्। उनले यो कुरा जाहेरीमा पनि उल्लेख गरेकी छन्।, २०७६ सालमा आफ्नो बच्चा तुहाइदिएको गिरीमाथि लगाएको उनले बताइन्। त्यसपछि आफूमाथि कुटपिट र बलात्कार गर्दै आएको पीडितको भनाइ छ। पहिले पनि प्रहरीमा निवेदन दिएको तर त्यो बेला आत्महत्याको डर देखाएर त्यसमाथि कारबाही रोकेको उनले जाहेरीमा उल्लेख गरेकी छन्।, त्यसपछि पनि आफूमाथि पटकपटक कुटपिट हुने गरेको उनको भनाइ छ। बिरामी र महिनावारी भएका बेलामा आफूले इन्कार गर्दागर्दै पनि जबरजस्ती गरिरहेको उनको जाहेरीमा उल्लेख छ।, २०७९ कात्तिक १८ गते गिरीका आफन्तले निर्घात कुटपिट गरेको र त्यो दिन राती गिरीले आफूलाई बलात्कार गरेको पीडितले बताएकी छन्। त्यो बेला आफू प्रहरीकहाँ गएको र निवेदन दिन लागेको थाहा पाएपछि आत्महत्या गर्छु भनेर धम्क्याएपछि उनले बताइन्। यसपछि उनले दर्ता गर्न नसकेको कुरा जाहेरीमा उल्लेख छ।, मंसिर २ गते फेरि आफ्नो इच्छा विपरीत न्यायाधीश गिरीले शारिरीक सम्बन्ध राखेको जाहेरीमा उल्लेख छ। बलात्कार गरिसकेपछि मुद्दा हालिस् भने म धरौटीमा निस्किहाल्छु त्यसपछि जानेको छु भन्दै धम्क्याएको पीडितको भनाइ छ।,
जिल्ला न्यायाधीश गिरीविरूद्ध जाहेरी दर्ता नभएपछि पीडितले गरिन् सर्वोच्च अघि प्रदर्शन |
सेतोपाटी संवाददाता काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको जहाज आइतबार बिहान पोखरामा दुर्घटनामा परेको छ। दुर्घटनामा मृत्यु भएका ३२ जनाको शव अहिलेसम्म फेला परेको छ। उद्धारको कार्य जारी छ। , ६८ जना यात्रु सवार उक्त एटिआर जहाज पाइलट कमल केसीले उडाएका थिए। चालक दलमा कोपाइलट अन्जु खतिवडा र दुई जना एयर होस्टेस सिर्जना होङचुङ र ओसिन आलेमगर थिए।, जहाज उडाएका पाइलट केसी प्रशिक्षक पाइलट हुन्। स्रोतका अनुसार उनी २० वर्षभन्दा बढी समयदेखि जहाज उडाउँदै आएका थिए।, काठमाडौंको बुढानिलकण्ठका बासिन्दा केसीले पाइलट कोर्स सकिएलगत्तै केही वर्ष नेपाल एयरलाइन्समा काम गरेका थिए।, त्यसपछि उनी जागिरका लागि भारत गएका थिए।, यति एयरलाइन्समा उनले १५ वर्षअघि जागिर सुरू गरेका थिए।,
२० वर्षदेखि जहाज उडाइरहेका थिए पाइलट कमल केसीले |
सेतोपाटी संवाददाता पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटनामा परेकाहरूको उद्धारमा कठिनाइ आएको छ। कास्कीका प्रहरी प्रमुख एसपी अजय केसीले अहिलेसम्म ३६ जनाको शव फेला परेको जानकारी दिए।, ‘अहिलेसम्म ३६ जनाको शव निकालिएको छ, बाँकी १०/१२ जनाको शव माथिबाट देखिएको छ। निकाल्न प्रयत्न गरिरहेका छौं,’ केसीले भने, ‘खोंचमा भएका कारण निकै कठिनाइ भइरहेको छ।’, उद्धारमा नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरीको टिम खटिरहेको छ। जहाजमा ५७ जना नेपाली र १५ जना विदेशी सवार थिए।,
‘खोंचभित्र परेकाले उद्धारमा कठिनाइ भइरहेको छ’ |
सेतोपाटी संवाददाता त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले उडानका लागि बाहिरका सबै विषय सामान्य रहेको अवस्थामा पोखरामा यति एयरलाइन्सको जहाज जहाज दुर्घटना भएको बताएका छन्।, सेतोपाटीसँग संक्षिप्त कुराकानी गर्दै महाप्रबन्धक ठाकुरले काठमाडौंबाट उडान गर्दा र पोखरासँगको टावरसँगको सम्पर्कका क्रममा पनि अवतरणका लागि अनुमति दिएपछि जहाज दुर्घटना भएको बताए।, ‘उडान तथा अवतरणका क्रममा मौसमसहित अन्य सबै विषय क्लियर रहेको थियो। जहाजलाई पोखरा टावरले पनि अवतरणको अनुमति दिएको थियो। २ नटिकल माइलमा आइपुगेपछि जहाज कसरी दुर्घटना भयो हामी अनुसन्धानकै क्रममा छौं,’ ठाकुरले भने।, काठमाडौंबाट पोखरा उडेको यति एयरलाइन्सको 9N-ANC कल साइन भएको जहाज करिब ११ बजेतिर पोखरामा दुर्घटना भएको थियो।, जहाजमा चालक दलका चार जना र ६८ यात्रु सवार थिए। अहिलेसम्म ३६ जनाको शव फेला परेको छ भने उद्धार कार्य जारी छ।,
,
पोखरामा अवतरण अनुमति लिएपछि जहाज दुर्घटना भयो: महाप्रबन्धक ठाकुर |
सेतोपाटी संवाददाता आइतबार बिहान पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनाबारे छानबिन गर्न सरकारले आयोग गठन गरेको छ।, आइतबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा दुर्घटना जाँच आयोग गठन गरिएको उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलले जानकारी दिए।, छानबिन गर्न बनेको आयोगमा हवाई विज्ञ तथा अवकाशप्राप्त उपरथी दीपकप्रसाद बास्तोला, अवकाशप्राप्त क्याप्टेन सुनिल थापा, हवाई मेन्टिनेन्स इन्जिनियर एकराजजंग थापा सदस्य छन्।, आयोगको सदस्य सचिवमा पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने रहेको मन्त्री पौडेलले जानकारी दिए।, सरकारले यो आयोगलाई ४५ दिनभित्र प्रतिवेदन बुझाउन समय दिएको छ। जाँच आयोगले दुर्घटनाका कारण पहिचान गर्नुको साथै र आगामी दिनमा दुर्घटना हुन अपनाउनु पर्ने सुझावसहित प्रतिवेदन पेस गर्नु पर्नेछ।,
पोखरा जहाज दुर्घटनाबारे छानबिन गर्न पाँच सदस्यीय आयोग, ४५ दिनको समय |
सेतोपाटी संवाददाता पोखरामा भएको जहाज दुर्घटनाप्रति अमेरिका तथा चीनले दु:ख व्यक्त गरेका छन्।, काठमाडौंस्थित अमेरिका र चीनका राजदूतावासले सामाजिक सञ्जालमार्फत् दु:ख व्यक्त गरेका हुन्। , अमेरिकी दूतावासले जहाज दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति समवेदना व्यक्त गरेको छ। , नेपालका लागि चिनियाँ राजदूत छन सोङले दुर्घटनाको खबरले स्तब्ध भएको उल्लेख गरेका छन्।, ‘यस दु:खद घडीमा हाम्रो विचार नेपाली जनताको साथमा छ। मृतकहरूप्रति गहिरो समवेदना,’ उनले ट्विट गरेका छन्।, यति एयरलाइन्सको 9N-ANC कलसाइनको जहाज पोखरास्थित सेती खोंचमा दुर्घटना भएको थियो। जहाजमा चालक दलका चार र ६८ यात्रु सवार थिए। ,
,
पोखरा जहाज दुर्घटनाप्रति अमेरिका र चीनद्वारा दु:ख व्यक्त |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.