content
stringlengths 31
27.4k
⌀ |
---|
जयतु संस्कृतम्का शाखा बेलायत र अष्ट्रेलियामा काठमाडौं। जयतु संस्कृतम् संस्थालाई विश्वका प्रमुख देशमा शाखा खोली संस्कृत भाषामा रहेको ज्ञान विस्तारमा उपयोग गरिने भएको छ । संस्थाले गत वर्ष अमेरिकामा शाखा गठन गरेको आज जुम प्रविधिबाट आयोजित वाग्मती प्रदेशस्तरीय संस्कृत लोकभाषा अभियान विषयक अन्तरक्रिया कार्यक्रममा संस्थाका अध्यक्ष डा बद्री पोखरेलले जानकारी दिए। यसै वर्ष बेलायत र अष्टे«लियामा शाखा गठन गर्न त्यहाँ रहेका संस्कृतप्रेमीले इच्छा व्यक्त गरेको र निकट भविष्यमै गठन गर्न लागिएको उनले बताए।
विश्वमा सबैभन्दा पुराना ग्रन्थ संस्कृत भाषामा रहेकाले यसप्रति विश्वव्यापी आकर्षण बढ्न थालेकाले शाखा खोल्न लागिएको उनले बताए। भाषा मात्र नभई वाङ्मयकै स्वरुप ग्रहण गरेको संस्कृतमा धेरै ग्रन्थसमेत लेखिएका छन् । अन्तरक्रियामा सहभागी पीपलमणि सिग्देलले अमेरिकाबाट जयतु संस्कृतम्लाई विश्वव्यापी रुपमा फैल्याउन लागिएको जानकारी दिए। कोरोनाबाट बच्न जारी निषेधाज्ञा एवं बन्दाबन्दीबीच जुम प्रविधिबाट नै संस्कृत प्रशिक्षण गर्न सकिने उनको सुझाव थियो ।
कार्यक्रममा सांसद उमेश श्रेष्ठले प्याब्सन आबद्ध विद्यालयमा अध्ययनरत करिब २५ लाख विद्यार्थीलाई संस्कृत लोकभाषा अभियानमा सहभागी गराउन भूमिका खेल्ने प्रतिबद्धता जनाए। धर्मसंस्कृतिको भण्डार रहेको संस्कृत भाषा संरक्षणका लागि नीतिनिर्माण एवं कार्यान्वयन तहबाट समेत सहयोग जुटाउन आफू लाग्ने उनले बताए। नेपाल संस्कृत विश्वविद्यालय नेपाल प्राध्यापक संघका अध्यक्ष शम्भुराज गौतमले अर्को हप्ता संस्कृत वाङ्मयको उन्नयनका लागि वाङ्मय विमर्श कार्यक्रम आयोजना गर्न लागिएको बताए।
प्याब्सनका सहअध्यक्ष डिके ढुङ्गानाले आफ्नो विद्यालय रेडियन्ट रिडर्स एकेडेमीमा चार वर्षअघिदेखि नै संस्कृत पठनपाठन भइरहेको बताए। बौद्ध धर्मगुरु आचार्य नुर्बु शेर्पाले संस्कृत भाषा अध्ययन गर्दा मानवका लागि फाइदा हुने भएकाले धर्म, राजनीति, जातीयता आदिको घेराभन्दा माथि उठेर यसलाई हेरिनुपर्नेमा जोड दिए।
कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङले संस्कृत भाषामा रहेका प्राचीन ग्रन्थको अध्ययनअनुसन्धान गरी त्यहाँ भएको ज्ञान जनसमक्ष ल्याइनुपर्नेमा जोड दिए।
कार्यक्रममा पूर्वसचिव जनार्दन नेपालले माध्यमिक विद्यालयमा अनिवार्य संस्कृत पठनपाठनको व्यवस्थासम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै अनिवार्य पठनपाठन गर्न सके नैतिक एवं चरित्रवान् नागरिक बनाउन सहयोग मिल्ने बताए।
संस्कृत लोकभाषा अभियानका विषयमा कार्यपत्र प्रस्तुत गर्दै भाषाशास्त्री प्रा डा माधवप्रसाद पोखरेलले लिच्छविकाल एवं त्यसभन्दा अघिदेखि नै नेपालमा प्रमुख भाषाका रुपमा संस्कृत बोलिने गरेकाले यो लोकभाषा भएको बताए। समयक्रममा यो भाषाको प्रयोग घटे पनि विभिन्न रुपमा यसको प्रयोग भइरहेकाले यो लोकभाषा भएकामा कार्यक्रमका वक्ताले जोड दिएका थिए।
विसं २००४ मा तीनधारा संस्कृत पाठशालामा अध्ययनरत विद्यार्थीले संस्कृत शास्त्रीय विषयका साथै आधुनिक अंग्रेजी, गणित, विज्ञानलगायत विषय पनि पढ्न पाउनुपर्छ भनी जयतु संस्कृतम् आन्दोलन गरेका थिए । यो नेपालको पहिलो विद्यार्थी आन्दोलन पनि हो ।
सरकारले आन्दोलनकारी विद्यार्थीलाई उपत्यका कटाएपछि निरंकुश जहानियाँ राणाशासनविरुद्ध देशव्यापी रुपमा जागरण फैलाउँदै भारतको बनारस पुगेका थिए । पूर्णप्रसाद ब्राह्मण, श्रीभद्र शर्मालगायतको नेतृत्वमा रहेका आन्दोलनकारीले त्यसबेला नेपाली काँग्रेसका संस्थापक नेता बिपी कोइरालालाई भेटी नेपालमा प्रजातन्त्र स्थापनामा सहयोग गरेका थिए । आन्दोलनको स्वर्ण महोत्सवका अवसरमा २०५५ सालमा जयतु संस्कृतम् नामक संस्था स्थापना भएको हो । संस्थाले संस्कृतको प्रवद्र्धनका लागि गतिविधि गर्दै आएको छ । रासस |
जाजरकोटमा गिद्ध गणना जाजरकाेट । प्रकृतिको कुचिकारका रुपमा रहेको गिद्धको गणना गरिएको छ। जाजरकोटको नलगाड नगरपालिका, भेरी नगरपालिका, छेडागाड नगरपालिका र बारेकोट गाउँपालिका र कुशे गाउँपालिकामा एक महिना लगाएर गणना गरिएको पन्छी संरक्षण आजीवन सदस्य गोविन्दबहादुर सिंहले जानकारी दिए। गिद्धका सँगै गुँडको गणनासमेत गरिएको थियो।
जिल्लामा विश्वमा दुर्लभ मानिने सुन गिद्ध चार, सेतो गिद्ध छ, हिमाली गिद्ध ७६, हाडफोर गिद्ध आठ र राज गिद्ध दुईवटा फेला परेको छ। यसैगरी सुन गिद्धका एउटा, सेतो गिद्धका तीनवटा, हिमाली गिद्धका ३३ वटा, हाडफोर गिद्धका तीनवटा गुँड भेटिएएको छ भने राज गिद्धको गुँड नभेटिएको सिंहले जानकारी दिए। उनका अनुसार करीब एक महिना लगाएर गणना गरिएको थियो।रासस |
चितवन मेडिकल कलेजले थाल्यो प्लाज्मा थेरापीबाट उपचार चितवन । जिल्लामा पहिलो पटक चितवन मेडिकल कलेजमा उपचाररत एक महिलामा प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको छ । हेटौँडा उपमहानगरपालिका–११ की ५२ वर्षीया कोरोना सङ्क्रमितमा प्लाज्मा थेरापी गरिएको हो।
क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार ती महिलालाई बिहीबार राति दुई पोका ‘बि पोजेटिभ’ प्लाज्मा चढाइएको छ । बिहीबार नै केन्द्रमा सङ्क्रमणमुक्त भएका तीन जनाले प्लाज्मा दान गरेका थिए । पौडेलका अनुसार भरतपुर र देवघाटका दुई पुरुषको रगत ‘बि पोजेटिभ’ रहेको थियो । दान गरिएको रगतबाट प्लाज्मा निकालेर ती महिलालाई चढाइएको पौडेलले जानकारी दिए।
कोभिड सङ्क्रमित भएर आइसोलेसनबाट निको भई १४ दिन कटेकाहरुको रगत सङ्कलन गरेर रक्ततत्व छुट्याइन्छ । निको भएकाहरूको रगतको प्लाज्मामा भाइरसविरुद्ध बनेका एन्टिबडीलाई अरू बिरामीमा प्रयोग गरिन्छ । यो विधिमार्फत कोरोना भाइरसबाट हुने मृत्युदर कम हुने चिकित्सकहरुको भनाइ छ।
पौडेलले भन्नुभयो, “प्यासिभ एन्टिबडी थेरापी भनेको एक व्यक्तिमा बनिसकेको एन्टिबडी अर्को व्यक्तिलाई दिनु हो ।” अठार वर्ष उमेरमाथिका व्यक्तिले रगतको प्लाज्मा दिन सक्छन् । कोरोना सङ्क्रमणमुक्त व्यक्तिले दिने रगत रक्तदान नै हो । रगतबाट रगतमा भएको सेतो कोष हटाएर बनेको झोल पदार्थ नै प्लाज्मा भएको पौडेलको भनाइ छ ।
चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा.डा. हरिशचन्द्र न्यौपानेले कोभिड सघन उपचार कक्षमा एक सातादेखि उपचाररत ती महिलामा प्लाज्मा थेरापी गरेर जिल्लामा पहिलोपटक उपचार थालिएको बताए। उनले क्रमशः अन्य बिरामीलाई पनि आवश्यकता र उपलब्धताअनुसार प्लाज्मा थेरापी गरिने जानकारी दिए।
जिल्लामा गम्भीर रहेका धेरै सङ्क्रमितको चितवन मेडिकल कलेजमा उपचार भइरहेको उनले जानकारी दिए। सो मेडिकल कलेजले कोभिड प्रयोगशालासमेत सञ्चालनमा ल्याएको छ।रासस |
एयरलाइन्स कम्पनीको लापरवाहीले ६५७ यात्रु होटल क्वारेन्टाइनमा काठमाडौं। विदेशबाट स्वदेश फर्किन चाहने नागरिकले आफूलाई कोरोना भाइरस नेगेटिभ भएको रिपोर्ट अनिवार्य रुपमा देखाउनु पर्ने प्रोटोकल छ। पीसीआर नेगेटिभ भएको रिपोर्ट साथमा नभए स्वदेश फर्किन नपाउने सरकारी नियम छ। विदेशबाट पीसीआर परीक्षण गरी रिपोर्ट नेगेटिभ लिएर आएमा उनीहरु सिधै विमानस्थलबाट होम क्वारेन्टाइनमा जान सक्ने सरकारी मापदण्ड छ।
तर उक्त नियम विपरित कोरोना टेस्टको रिपोर्ट नभएका नागरिक पनि धमाधम नेपाल आइरहेको खुलेको छ। भदौ १३ गते अस्ट्रेलियाबाट १४८ यात्रु लिएर काठमाडौं अवतरण गरेको सिल्क एयरमा नौ जना कोरोना टेस्ट नगरेका यात्रु पनि आएपछि उक्त विमानमा सवार सबै १४८ जना यात्रुलाई नै अहिलो होटल क्वारेन्टाइनमा राखिएको छ।
सम्बन्धित एयरलाइन्स कम्पनीहरुले सरकारले बनाएको नियमलाई पालना नगर्दा अहिले विदेशबाट आउने सयौँ यात्रुहरुले दुःख पाएका छन्। एयरलाइन्स कम्पनीले कोरोनाको परीक्षण नै नगरेका यात्रुलाई समेत ल्याउन थालेपछि पीसीआर गरेर आएकाहरु पनि समस्यामा परेका हुन्।
एयरलाइन्स कम्पनीहरुले सरकारी नियमको बेवस्ता गर्दै केही व्यक्तिहरुलाई कोरोना परीक्षणको रिपोर्ट बिना नै ल्याएपछि उनीहरुसँगै सोही विमानमा आएका अन्य यात्रुहरुलाई पनि होटल क्वारेन्टाइमा राखिएको विदेशबाट आएका नागरिकको व्यवस्थापन गर्ने जिम्मा पाएको नेपाली सेनाले जनाएको छ।
बुधबार जापानबाट काठमाडौं आएको नेपाल एयरलाइन्सको जहाजबाट २१५ नेपाली स्वदेश फर्किएका थिए। तीमध्ये तीन जनाको पीसीआर रिपोर्ट नहुँदा जहाजमा सवार २१५ जना यात्रुलाई काठमाडौंमा विभिन्न होटलमा क्वारेन्टाइनमा राखिएको नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोष वल्भव पौडेलले जानकारी दिए।
‘आफ्नो दायित्व सबैले निर्वाह गरियो भने यस्तो समस्या आउँदैन,’ नेपाली सेनाका प्रवक्ता सहायक रथी पौडेलले डिसी नेपालसँग भने, ‘सानो हेलचेक्राँइले धेरैले दुख पाउनुपर्ने अवस्था आउँछ।’
बुधबार (२ सेप्टेम्बर) जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सले काठमाडौंका लागि उडान भरेको थियो। सो उडानमार्फत २१५ जना यात्रुहरु काठमाडौं ओर्लिएका थिए। उनीहरुमध्ये २१२ जनाको साथमा कोरोना परीक्षण गरेको पीसीआर रिपोर्ट नेगेटिभ थियो।
त्यस्तै एक जना महिला यात्रुको आरडीटी गरेको नेगेटिभ रिपोर्ट थियो। अन्य दुई जना पुरुष यात्रुको भने कोरोनाको परीक्षण नै गरिएको थिएन। सरकारले आरडीटी (-यापिड डायग्नोस्टिक टेस्ट) परीक्षणलाई समेत मान्यता दिएको छैन।
यसरी ३ जना यात्रुको साथमा पीसीआर रिपोर्ट नभएपछि सो विमानमार्फत नेपाल आएका २१५ जना यात्रुलाई नै होटल क्वारेन्टाइनमा राखिएको छ। ३ जनाको रिपोर्ट नभएपछि आफूहरु सबैजनालाई होटल क्वारेन्टाइनमा बस्न बाध्य पारिएको झापाका प्रविण पोख्रेलले डिसी नेपाललाई बताए।
उनलाई अहिले कंलकीको ग्याल्कसी होटलमा राखिएको छ। त्यहाँ पोख्रेलसहित २४ जनालाई राखिएको छ। जो बुधबार नारिताबाट एउटै विमानमा आएका थिए। अन्य यात्रुलाई भने काठमाडौंका विभिन्न होटलमा राखिएको उनले बताए।
‘सरकारले पीसीआर रिपोर्ट भएकाहरुलाई होटल क्वारेन्टाइन बस्नु पर्दैन भनेको थियो। हामीले ४० हजार जापानी येन (नेपाली करिब ४५ हजार रुपैयाँ तिरेर पीसीआर टेष्ट गरायौँ,’ पोख्रेलले डिसी नेपालसँग भने, ‘तर, यहाँ आएपछि एक/दुई जनाको कोरोनाको टेष्ट गरेको छैन भनेर हामी सबैलाई सेनाले होटल क्वारेन्टाइनमा बस्न पर्छ भन्यो।’ उनले नेपाल एयरलाइन्सका जापानस्थित कर्मचारीका कारण सबै यात्रुले दुःख पाएको बताए।
एक जनामात्रै यात्रुको पीसीआर नेगेटिभ भएको रिपोर्ट नभए अन्य सबै यात्रु होटल क्वारेन्टाइनमा बस्नुपर्ने प्रोटोकल रहेको नेपाली सेनाले जनाएको छ।
सोही विमानमा आएका अर्का यात्रु गोपाल बजगाईँले पनि आफूहरुलाई निकै दुःख पाएको बताए। उनीसँगै उनको श्रीमती पनि आएकी थिइन्।
‘हामी सुगर र प्रेसरका बिरामी हौँ। सरकारले पीसीआर रिपोर्ट भएकालाई बाहिर क्वारेन्टाइन बस्न पर्दैन भनेपछि हामीहरु मंहगो पैसा तिरेर पीसीआर गरेका थियौँ,’ उनले आफ्नो दुःख सुनाउँदै भने, ‘यहाँ होटल क्वारेन्टाइन भनेर राखिएको छ। क्वारेन्टाइनको लागि सरकारले तोकेको मापदण्ड पूरा गरेको होेटल भनिएको छ। तर, यो त होटल जस्तो पनि छैन। यहाँ सरसफाइ पनि छैन। खाना पनि गुणस्तरीय छैन। क्वारेन्टाइन भनिएको छ तर, यहाँ मानिसहरु सामाजिक दूरी कायम नगरी यत्रतत्र हिँडिरहेका छन्। तपाईँहरु आएर हेर्नसक्नुहुन्छ।’
उनले आफूहरु बिरामी भएकोले होटल क्वारेन्टाइनमा बस्दा थप जोखिम रहेको बताए। विमानस्थलमा ओर्लिएपछि उनीहरुलाई सेनाले बसुन्धारामा रहेको होल्डिङ सेन्टरमा लगेको थियो। त्यहाँबाट उनीहरुले सिधै घर जान पाइन्छ भन्ने आशा गरेका थिए। तर, ३ जनाको रिपोर्ट नभएको भन्दै आफूहरुलाई सेनाले होटल क्वारेन्टाइनमा बस्नुपर्ने बताएको उनको भनाइ छ।
पीसीआर रिपोर्ट भएकाहरुलाई पनि होटल क्वारेन्टाइनमा बस्नुपर्छ भनेपछि उनीहरुले होम क्वारेन्टाइनमा जान पाउनुपर्छ भन्दै होल्डिङ सेन्टरमै नारावाजी समेत गरेका थिए। ‘हामीले धेरै समयसम्म विरोध गर्यौँ। नारावाजी समेत गरेका थियौँ। तर, हामीले भनेको केही सुनिएन। सरकारी प्रटोकल अनुसार क्वारेन्टाइन बस्नै पर्छ भनेर होटल साहुहरुको जिम्मा लगाइयो,’ उनले भने, ‘सरकारले पनि खोइ के हो आधारमा क्वारेन्टाइनको लागि उपयुक्त छ भनेर अनुमति दिएको रहेछ कुन्नी? बिजोग अवस्था छ। हामी त बिरामी मान्छे अब यतै मरिन्छ जस्तो छ।’
बजगाईँले नेपाल एयरलाइन्सका कर्मचारीले जापानको विमानस्थलमा समेत आफूहरुलाई दुःख दिएको गुनासो गरे। लगेज तोकिए भन्दा बढी भएको भन्दै प्रतिकिलो दुई हजार रुपैयाँ आफूसँग मागेको उनको भनाइ छ। ‘हामीलाई टिकट खरिद गर्ने बेलामा प्रतिव्यक्ति २ वटा लगेजमा गरेर ४६ किलोसम्म लैजान पाइन्छ भनिएको थियो। ह्याण्ड ब्यागमा पनि ७ किलो पाइन्छ भनिएको थियो। तर, त्यहाँ त आएका कर्मचारी ३५ किलोभन्दा बढी पाइँदैन भन्दै प्रतिकिलो २ हजारका दरले पैसा मागे। पैसा मागेपछि हामीले विमानस्थलमै ब्यागहरु खोलेर समान निकाल्यौँ,’ उनले भने।
बुधबार मात्रै मलेसियाबाट स्वदेश आएका १३३ जनालाई पनि होटल क्वारेन्टाइनमा राखिएको छ। क्वलालम्पुरबाट मालिन्दो एयरको विमानमाफर्त नेपाल आएका १३३ जना नेपाली होटल क्वारेन्टाइनमा बस्न बाध्य भएका हुन। सो विमानमार्फत नेपाल आएका दुईजनाको कोरोना परीक्षणको रिपोर्ट नभएका कारण उनीहरुलाई होटल क्वारेन्टाइन्मा राखिएको हो।
सोही विमानमार्फत नेपाल आएका सविनकुमार लोप्चन तामाङले आफूहरुलाई कलंकीस्थित एक होटल क्वारेन्टाइनमा बसेको डिसी नेपाललाई बताए। यसरी सबैजना होटल क्वारेन्टाइन बस्नुपर्ने कारण दुईजना यात्रु हुन्। उनीहरुले पीसीआर परीक्षण नगरी आरडीटी परीक्षण गरेर आएकाले सबैलाई क्वारेन्टाइनमा पठाइएको हो।
डिसी नेपाललाई प्राप्त जानकारीका अनुसार ती पीसीआर नगरेका दुई जनालाई मलेसियास्थित विमानस्थलमै रोकिएको थियो। तर, एयरलाइन्सका प्रतिनिधिहरुले उनीहरुलाई दूतावासका कर्मचारी भन्दै ढाकछोप गरेर विमान चढाएर ल्याएका सोही विमानमा आएका एक नेपालीले डिसी नेपालसँग बताए।
उनका अनुसार ती व्यक्तिहरु प्रदेश नम्बर १ का हुन्। विमान कम्पनीको यस्तो लापारबाहीका कारण आफ्नो लापारवाहीले १३३ जना यात्रु नै होटल क्वारेन्टाइनमा बस्नु परेपछि सबै होटल खर्च मालिन्दोले व्यहोर्ने भएको छ। लोप्चनले होटल खर्च विमान कम्पनीले व्यर्होन कुरा भएको डिसी नेपाललाई बताए।
त्यस्तै २५ अगष्ट (भदौ ९ गते) १६१ यात्रु लिएर यूएईको सारजाहबाट काठमाडौं आएको एयर अरेवियाले पनि यस्तै गल्ती गरेको थियो। एयर अरेबियामा आएका १४२ यात्रुको मात्रै पीसीआर टेष्ट गरिएको थियो। त्यस्तै १८ जनाको आरडिटी गरिएको थियो भने एक जनाको परीक्षण गरिएको थिएन।
१९ जनाको पीसीआर रिपोर्ट नभएपछि उनीहरु सबैलाई विमानस्थलबाट ल्याएर होटल क्वारेन्टाइनमा राखिएको थियो। अहिले सरकारले पीसीआर गरेका ती १४२ यात्रुको रकम फिर्ता गराउन एयर अरेवियालाई निर्देशन दिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले सबै यात्रुबाट होटल खर्च उठाएको तर पछि यात्रुले नै तिरेको गुनासो आएपछि तुरुन्तै रकम फिर्ता गराउन र फिर्ता नगरे कारबाही गर्नसमेत निर्देशन दिएका छन्।
सरकारले मापदण्ड जारी गरे पनि एयरलाइन्स कम्पनीहरुले त्यसको पालना नगर्दा अहिले यात्रुहरु मारमा पर्न थालेका छन्। अहिले विदेशबाट स्वदेश आएकाहरु कोरोना महामारीका कारण रोजगारी गुमाएर आम्दानीविहीन भएका नेपालीहरु हुन्। उनीहरुले जसतसो गरेर हवाइ भाडा र पीसीआर परीक्षण खर्च जुटाएका हुन्छन्।
उसो त उनीहरु विदेशमा लामो समयसम्म काम नभइ बस्दा मानसिक रुपमा विक्षिप्त भएका हुन्छन्। बेखर्ची भइ बसेका उनीहरुलाई जतिसक्दो चाँडो घर पुग्ने इच्छा हुन्छ। तर, एयरलाइन्स कम्पनीहरुको लापारवाहीले गर्दा स्वदेश आइसकेपछि उनीहरुले झझन्ट व्योर्हनु परेको छ।
सरकारी मापदण्ड अनुसार यसरी होटल क्वारेन्टाइनमा राखेका यात्रुहरु सबैको ७ दिनपछि पीसीआर टेष्ट गरिन्छ। परीक्षणमा नेगेटिभ रिपोर्ट आएमा उनीहरुलाई आ–आफ्नो घर जाने अनुमति दिइन्छ। घरमा पुगेपछि उनीहरुले अनिवार्य रुपमा १४ दिनसम्म होम क्वारेन्टाइमा बस्नुपर्नेहुन्छ।
|
कामपामा कोरोना : २ हजार सात सय संक्रमित, १९ जनाको मृत्यु काठमाडौं। बिहीबार काठमाडौं महानगरले ९ वटा वडामा ५२५ जनाको स्वाब संकलन गर्दैछ। वडा ८ र २९ मा १००/१०० जना, २८ जना १२० जना, २०, २१, २३ र २४ मा गरी १२० जना, ३ मा ३० जना र ६ मा ५५ जनाको स्वाब संकलन गरिने महानगरपालिकाले जनाएको छ।
भदौ १४ गतेसम्मको विवरणअनुसार महानगरका २ हजार ७०७ जना संक्रमितमध्ये ५५५ जना होम आइसोलेसनमा छन् भने ५४७ जना अस्पतालमा उपचाररत छन्। ४८५ जना निको भएर घर फर्किएका छन्।
बिरामीको सम्पर्कमा रहेकाले संक्रमणको जोखिममा रहेका ४ हजार ३५२ जनाको कन्ट्याक्ट ट्रेसिङबाट स्वाब संकलन गरिसकिएको छ। उनीहरुमध्ये २६७ जनामा कोभिड पोजेटिभ देखिएको छ। भदौ १७ गतेसम्ममा महानगरमा कोभिडको संक्रमणकाकारण मृत्यु हुनेको संख्या १९ पुगेको छ।
आज स्वाब संकलन गर्न लागिएको वडा ८ मा अहिलेसम्म संक्रमितको संख्या २३ पुगेको छ। उनीहरुमध्ये ६ जना होम आइसोेसनमा छन् भने ४ जना अस्पतालमा छन्। ५ जना निको भएर घर फर्किएका छन्। कन्ट्याक्ट ट्रेसिङबाट वडामा यस अघि ४८ जनाको स्बाव संकलन गरिसकिएको महानगरपालिकाले जनाएको छ। यसै गरी वडा २९ मा संक्रमितको संख्या ६५ पुगेको छ।
जसमध्ये १३ जना होम आइसोलेसन र २५ जना अस्पतालमा उपचाररत छन्। १० जना उपचारपछि घर फर्किसकेका छन्। कोरोनाका कारण वडामा कसैको पनि मृत्यु भएको छैन। यस अघि कन्ट्याक्ट ट्रेसिङबाट १४६ जनाको स्वाब संकलन गरिसकिएको छ।
वडा २८ मा संक्रमितको संख्या १०५, होम आइसोलेसनमा १२, अस्पतालमा उपचाररत २५ र निको हुनेको संख्या १९ पुगेको छ। कन्ट््याक्ट टे«सिङ्बाट १४५ को स्बाव संकलन गरिएको यस वडामा कोभिडकारण कसैको पनि मृत्यु भएको छैन।
१५ जना संक्रमितको संख्या पुगेको वडा २० मा होम आइसोलेसमा १ जना, अस्पतालमा उपचाररत २ जना र उपचारपछि घर फर्किने १ जना छन्। १ जनाको मृत्यु भएको वडामा यस अघि ३२ जनाको स्वाब संकलन गरिसकिएको छ। यसै गरी वडा २१ मा संक्रमितको संख्या १४ पुगेको छ। जसमध्ये ४ जना होम आइसोलेसनमा र ३ जना अस्पतालमा उपचाररत छन्। २ जना उपचारपछि घर फर्किएका छन् भने १ जनाको मृत्यु भएको छ। वडामा ३५ जनाको कन्ट्याक्ट ट्रेसिङबाट स्वाब संकलन गरिएको छ।
आजै कन्ट्याक्ट ट्रेसिङबाट स्वाब संकलन गर्ने वडा २३ मा संक्रमितको संख्या १५ छ। ५ जना होम आइसोलेसनमा र २ जना अस्पतालमा उपचाररत छन् भने उपचारपछि ६ जना घर फर्किएका छन्। वडामा यसअघि कन्ट्याक्ट ट्रेसिङबाट ६० जनाको स्बाब संकलन गरिसकिएको छ।
वडा २४ मा संक्रमितको संख्या ३३ पुगेको छ। यसमध्ये २ जना होम आइसोलेसनमा र २ जना अस्पतालमा उपचाररत छन्। निको भएर फर्कनेको संख्या प्राप्त भएको छैन भने कसैको मृत्यु भएको छैन। वडामा ११९ जनाको कन्ट्याक्ट ट्रेसिङबाट स्बाब संकलन गरिसकिएको छ।
वडा ३ मा संक्रमितको संख्या १८० छ। २८ जना होम आइसोलेसनमा र ७९ जना अस्पतालमा उपचार गराउँदै छन्। ५८ जना उपचारपछि घर फर्किनु भएको छ भने १ जनाको मृत्यु भएको छ। अहिलेसम्म कन्ट्याक्ट ट्रेसिङबाट १२८ जनाको स्वाब संकलन गरिसकिएको छ। यता वडा ६ बौद्धमा संक्रमितको संख्या २९ पुगेको छ। १
४ जना होम आइसोलेसन र ४ जना अस्पतालमा छन्। ३ जना निको भएर फर्किएका छन् भने कन्ट्याक्ट ट्रेसिङबाट ८७ जनाको स्बाब संकलन गरिसकिएको छ।
‘महामारी नियन्त्रण गर्न बिरामीको सम्पर्कमा भएका व्यक्ति पहिचान गरेर परीक्षण गर्ने र संक्रमण भएकालाई अन्यको सम्पर्कबाट छुटाउने गरी काम गरिरहेका छौं। महानगरका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले भने, ‘भौतिक दुरी कायम गर्ने, मास्क लगाउने र सकेसम्म साबुन पानी नभए स्यानिटाइजरको प्रयोग गर्ने बानीको बिकास गर्ने हो भने महामारी नियन्त्रण गर्न धेरै सहज हुनेछ। यो नियम सबैका लागि महामारी नियन्त्रणका लागि खटिने स्वास्थ्यकर्मी, कर्मचारी, सुरक्षाकर्मी, पत्रकार सबैले यसको पालना गर्नुपर्छ।’ |
करेन्ट लागेर मृत्यु नवलपरासी। नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा करेन्ट लागेर बुधबार एक जनाको मृत्यु भएको छ । घरमा ट्रस लगाउने क्रममा करेन्ट लागेर कावासोती नगरपालिका –९ बस्ने ४० वर्षीय लक्ष्मीप्रसाद महतोको अपराह्न मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनप्रसाद खाँणले बताए।
कावासोती –२ का कमलप्रसाद पौडेलका घरमा ट्रस लगाउने क्रममा जस्तापाताले विद्युत्को तार छुन पुग्दा करेन्ट लागेर घाइते भएका महतोलाई उपचारका लागि नवलपुर अस्पताल कावासोतीमा लगिए पनि मृत्यु भएको जनाइएको छ। रासस |
वर्षाले अवरुद्ध ग्रामिण सडक खोल्दै नगरपालिका मुगु । लगातारको वर्षाले अवरुद्ध रहेका आफ्ना नगर क्षेत्रका ग्रामिण सडकहरु खुलाउन यहाँको एक स्थानीय तहले सडक मर्मत कार्य शुरु गरेको छ।
जिल्लाको एक मात्र नगरपालिका छायाँनाथ रारा नगरपालिकाले वर्षाका कारण अवरुद्ध रहेका नगर क्षेत्र भित्रका अन्तर वडा र राष्ट्रिय सडक जोडने ग्रामिण सडकहरुको खुलाउन आईतबारबाट शुरु गरेको हो।
वर्षाको पानीले सडकहरु कटान गरेको, पहिरो आएको र सडक भासिन जिल्ला सदरमुकाबाट नगरक्षेत्र भित्रका सडक पुगेका १३ वटा वडाहरु जोडने सडकहरु एक महिना यताबाट अवरुद्ध हुँदै आएका थिए।
नगरपालिकाको आफ्नै स्काभेटर भएकाले यो वर्ष अवरुद्ध सडक खुलाउन सहज भएको छ। विगत वर्षहरुमा प्राईभेट स्काभेटर गुहार्नु पर्ने र त्यसमा पनि समय मै काम सम्पन्न नगरी दिने अवस्थाले नगरबासीले सास्ती भोग्दै आएका थिए नगर प्रमुख हरिजंग शाहीले बताउनु बताए।
वर्षाको पानीले गमगढी–बालै–राताचौर सडक,गमगढी–तारापानी सडक–गमगढी–रोवा सडक अवरुद्ध हुदै आएका थिए। नगरको स्काभेटरले आइतबार गमगढी–तारापानी, सोमबार गमगढी–बालै–राताचौर सडकको ठाँउ–ठाँउमा आएको पहिरो, भासिएको जमिन पन्छाएर सडक खुलाएको छ भने गमगढी–रोवा सडकको को पनि पटक पटक अवरोध हटाएर सडक सुचारु गरिएको छ।
ग्रामिण सडक खुलेपछि साविक झै स्थानीयहरुलाई सदरमुकाम आवत जावत गर्न र विरामीलाई गाँउबाट जिल्ला अस्पतालसम्म एम्वुलेन्स सेवा लिन सहज भएको छ भने गाँउका उत्पादनहरु बजारसम्म र बजारमा उपलब्ध आफना आवश्यक सर सामान घर लिन पनि सजिलो हुने भएको छ।
नगरभित्रका यी तीन सडक सहित गमगढी–नाउर–कार्कीवाडा,चौतारा–ढुम–कार्कीवाडा,हाईवय–रारा विमानस्थल र ताल्च–सल्लेरी–मिली सडक पनि शुचारुका लागि त्यहाँ आएको पहिरो लगायत अन्य अवरोध हटाउने कार्य पनि गर्ने नगरपालिकाले बताएको छ।
|
फेरि मौसम बदली, विभिन्न प्रदेशका केही ठाउँमा भारी वर्षा काठमाडौं । दुई दिन केही सफा भएको नेपालको मौसम आजदेखि पुनः बदली भएर ठाउँठाउँमा वर्षा हुन थालेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हिजो सोमबार र अस्ति आइतबार मौसम अधिकांश क्षेत्रमा सफा भए पनि आजदेखि तीन दिन बदली हुनेछ । मौसमविद् समिर श्रेष्ठले अहिले मुलुकका विभिन्न क्षेत्रमा पानी परिरहेको जानकारी दिए ।
मनसुन न्यून चापीय रेखा नेपालको पूर्व र मध्य क्षेत्रको अलि नजिक आएकाले धेरैजसो स्थानमा मौसम बदली छ । श्रेष्ठका अनुसार प्रदेश १ र २ मा हल्का पानी परिरहेको । आज मौसम पश्चिमतिर पनि सर्ने क्रममा रहेकाले वाग्मती प्रदेशमा पनि बदली भएर ठाउँठाउँमा पानी परिरहेको छ ।
वाग्मती र गण्डकीसहित प्रदेश १, २ र ५ का केही स्थानमा आज र भोलि भारी वर्षाको सम्भावना छ । पश्चिम सर्ने क्रममा भोलि कर्णाली र सुदूरपश्चिमा पनि असर गर्ने श्रेष्ठले बताए । “थोरै ठाउँमा भारी वर्षा हुन्छ, हल्का पानी भने मुलुकका अधिकांश ठाउँमा पर्छ ।” मौसमविद् श्रेष्ठले भने ।
प्राप्त विवरणअनुसार आज प्रदेश १ को ताप्लेजुङ, धनकुटा, वाग्मती प्रदेशको रसुवा र काठमाडौँमा पानी परेको छ । गोरखाको बारपाक स्टेशनले सबैभन्दा बढी पानी परेको देखाएको छ । आज प्रदेश नं ५ को पूर्वी भूभाग नवलपुर बर्दघाट क्षेत्रमा पानी परेको छ । कर्णाली र सुदुरपश्चिम प्रदेशमा बुधबार मौसम बदली भई समग्रमा तीन दिन धेरै स्थानमा पानी पर्ने सम्भावना छ । पछिल्लो केही दिन खासै पानी नपरेकाले माटोमा पानी सोस्ने क्षमता वृद्धि भएको तर भारी वर्षा भयो भने जोखिम कायमै रहेको जनाइएको छ ।
अहिले मनसुन सक्रिय नै छ । मुख्यतः सेप्टेम्बर २३ बाट मनसुन हराउँदै जान्छ । तर नेपालमा एकै पटक मनसुन घट्ने नभई पाकिस्ताबाट विस्तारै फर्किँदै जाने हुन्छ । त्यसपछि मात्रै नेपालबाट हट्छ । “पछिल्ला केही वर्षको अवस्था हेर्दा अक्टोबर पहिलो हप्तासम्म मनसुन सक्रिय भएको देखिन्छ”, मौसमविद् श्रेष्ठले भने, “यसपाली पनि सेप्टेम्बरमा मनसुन सकिने सम्भावना कम छ ।”
यसपाली नेपालमा औसत मनसुन रहे पनि मनसुन पूर्व नै भारी वर्षा हुँदा जमिन गलेकाले पहिराका ठूलो घटना हुन पुग्यो । जसका कारण जनधनको ठूलो क्षति भएको छ । |
सन्दीपको दुई विकेटपछि जमैकालाई राहत काठमाडाैं। नेपाली खेलाडी सन्दीप लामिछाने दुई विकेट लिएपछि उनी आबद्ध जमैका तल्लाहवाजलाई राहत मिलेको छ। क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत शनिबार राति ट्रिनिडाडमा भएको खेलमा जमैकाले सेन्ट किट्स एण्ड नेभिस प्याट्रियोट्सलाई ३७ रनले पराजित गर्यो।
शनिबारको खेलअघि जमैका र सेन्ट किट्स अङ्क तालिकाको पुछारमा थिए। जमैका अङ्क तालिकाको पाँचौँ स्थानमा थियो भने सेन्ट किट्स अन्तिममा थियो। लिगको अन्तिम चारमा स्थान बनाइराख्नका लागि दुवै टोलीका लागि जित आवश्यक थियो।
सन्दीपको दुई विकेटको मद्दतमा विजयी भएको जमैका जितसँगै अङ्क तालिकाको तेस्रो स्थानमा उक्लेको छ। सेन्ट किट्स भने जमैकासितको हारसँगै अङ्क तालिकाको पुछारमै सीमित बनेको छ।
जमैकासितको हारले उसलाई अन्तिम चारमा रहनका लागि अब निकै सङ्घर्ष गर्नुपर्ने देखिन्छ। जमैकालाई भने सेन्ट किट्ससितको जितले उपाधि होडमा रहिरहन सहज भएको छ।
सन्दीपको टोली जमैकाले हालसम्म खेलेको छ खेलमा तीनमा जित तथा तीनमा हार बेहोर्दै छ अङ्क बटुलेको छ। सेन्ट किट्सले भने ६ खेलमा एकमा जित तथा पाँचमा पराजित हुँदै मात्र दुई अङ्क हासिल गरेको छ। लिगको उपाधि होडको बाटो सेन्ट किट्सका लागि कठिन बनेको छ।
शनिबार छैटौँ खेल खेल्दै सन्दीपले सेन्ट किट्सविरुद्धको खेलमा दुई विकेट लिँदै ट्रिनिडाडमा जारी प्रतियोगितामा टिममा आफ्नो स्थान सुरक्षित राखे। सन्दीपले अहिलेसम्म विकेटबिहीन हुनुपरेको छैन।
उत्कृष्ट खेल प्रदर्शन गरेकै कारण जमैकाले हालसम्म खेलेका सबै खेलमा सन्दीपले खेल्ने अवसर प्राप्त गरेका हुन्। उनले हालसम्म छ खेलमा नौ विकेट लिएका छन्। सेन्ट किट्सविरुद्ध सन्दीपले चार ओभर बलिङ गर्दै २७ रन खर्चिए। उनले इभेन लुइस र इस सोढीको विकेट लिएको हो।
टस जितेर जमैकाले पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा छ विकेट गुमाएर १४७ रन बनायो। एक सय ४८ रनको विजय लक्ष्य पछ्याएको सेन्ट किट्सले १९ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै ११० रन मात्र बनाउन सक्यो। जमैकाका लागि ग्लेन फिलिप्सले अविवित ७९ रन बनाए।
उनले यसक्रममा ६१ बल खेल्दै छ छक्का तथा दुई चौका प्रहार गरे। यस्तै जर्मेन ब्ल्याकउडले २७, नकु्रम बोनरले १६ तथा आशिफ अलीले १४ रनको योगदान दिए। बलिङतर्फ सेन्ट किट्सका रियाद इमरितले तीन विकेट लिए।
जमैकाका बलर सन्दीप तथा कार्लोस ब्रेथह्वाइट, फिडेल एडवार्ड, भिरासम्मी परमुलले सेन्ट किट्सको ब्याटिङ लाइन ध्वस्त पारे। कार्लोसले तीन तथा एडवार्ड र परमुलले सेन्ट किट्सको दुई दुई विकेट लिए।
मुजिबउर रहमानले एक विकेट लिए। ब्याटिङतर्फ सेन्ट किट्सका लागि केइरन पउलले २१, इभेन लुइसले २१, निक केलीले १६, डेनिस रामदिनले १३ तथा इमरान खानले १० रन बनाए। अब सन्दीपको टोली जमैकाले आफ्नो सातौँ खेल मङ्गलबार ट्रिबागो नाइट राइडर्सविरुद्ध खेल्नेछ।
यस यामको सिपिएलका लागि जमैका तल्लावाहजले सन्दीपलाई ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो। उनले यसअघि दुई पटक सीपीएल खेलिसकेका छन्। सिपिएल भदौ २५ गतेसम्म चल्ने छ। सीपीएल खेलेपछि सन्दीप इन्डियन प्रिमियर लिग (आइपीएल) खेल्न युनाइटेड अरब इमिरेटस् (युएइए) जानेछन्।
यस यामको आइपीएल कोरोना महामारीका कारण भारतमा आयोजना नभई युएईमा हुँदैछ। सन्दीपले आइपीएलमा दिल्ली क्यापिटल्सबाट खेल्नु हुनेछ । उनी दिल्ली क्यापिटल्समा रु ३२ लाखमा अनुबन्धित भएका हुन्। |
बाँदरलाई हानेको गोली लागेर बालकको मृत्यु खोटाङ । बाँदरलाई हानेको भरुवा बन्दुकको गोली लागेर खोटाङमा एक बालकको मृत्यु भएको छ । ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीका २३ वर्षीय मानकाजी तामाङले बाँदरलाई हानेको भरुवा बन्दुकको गोली लागेर सोही स्थानका १२ वर्षीय शैलेन्द्र तामाङको मृत्यु भएको हो ।
घरबाट करिब एक किलोमिटर उत्तरमा रहेको सुठुनीबारीमा बाँदर धपाउन शुक्रबार साँझ भरुवा बन्दुक पड्काउने क्रममा गोली लाग्दा बालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले बताए । प्रहरीले मानकाजीलाई बन्दुकसहित पक्राउ गरेको छ ।
मृतक बालकको शव प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कमा परीक्षण गरेर आफन्तको जिम्मा लगाइसकिएको प्रहरीले जनाएको छ । घटनास्थल जिल्ला प्रहरी कार्यालयबाट टाढा भएकाले उक्त घटनाका बारेमा विस्तृत जानकारी आउन बाँकी रहेको प्रहरी प्रमुख प्रनाउ चिमरियाले बताए ।
बाबुआमा वैदेशिक रोजगारीका सिलसिलामा विदेश गएपछि शैलेन्द्र मानकाजी (आमाको बहिनी)को घरमा बस्दै आएका थिए । बाँदर छेक्न गएका बालक बाँदर आउने भनिएको स्थानबाट आएपछि गोली लागेको जलेश्वरीका वडाध्यक्ष नैनकुमार राईले बताए । दश स्थानीय तह रहेको जिल्लामा बाँदर आतङ्क बढेपछि स्थानीय बासिन्दाले विभिन्न प्रक्रिया अपनाएर धपाउने गरेका छन् । जिल्लाका कतिपय स्थानीय तहका बासिन्दाले चन्दा सङ्कलन गरेर बाँदर धपाउनेलाई खर्च दिने गरेका छन् । |
सज्जा चौलागाईँ बनिन् नेपाल आइडल सिजन –३ को बिजेता काठमाडौं । सज्जा चौलागाईँ नेपाल आइडल सिजन–३ को विजेता भएकी छन्। शुक्रबार भएको ग्राण्ड फिनालेमा सज्जा नेपाल आइडल ३ को बिजेता बन्न सफल भएकी हुन्। उनले बिजेताको उपाधि उचाल्दै गर्दा सबैले अपेक्षा गरेका प्रवीण बेडुवाल फस्ट रनरअप बने भने सेकेन्ड रनरअपको उपाधि किरणकुमार भुजेलले उचाले।
दर्शकले विश्वभरबाट दिएको भोट र निर्णायकको मूल्यांकनका आधारमा विजेताको घोषणा गरिएको हो। अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले नेपाल आइडलको विजेता घोषणा गरेका थिए।
नेपाल आइड–३ को उपाधिसहित विजेताले ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । यसैगरी फस्ट रनरअपले १५ लाख र सेकेन्ड रनरअपले पाँच लाख नगद प्राप्त गरेका छन् । |
काठमाडौँ–रक्सौल रेलमार्गको अध्ययनअघि बढाउन भारत इच्छुक काठमाडौँ। काठमाडौँ–रक्सौल रेलमार्गको अध्ययन अघि बढाउन भारत सरकारले चासो देखाएको छ। अध्ययनका लागि भारतीय टोली नेपाल आउन चाहेको भएपनि कोभिड–१९ कारण तत्काल अनुमति दिन नसकिएको रेल विभागले जनाएको छ।
रेल विभागले उनीहरुलाई नेपाल आउन अनुमतिका लागि गृह मन्त्रालयलाई भनेको छ । कोभिड सङ्क्रमण फैलिरहेकाले तत्काल उनीहरु आउन दिने अवस्था नरहेको उनको भनाइ छ। अझै एक दुई महिनासम्म टोलीलाई बोलाउन नसकिने हुनसक्छ। उनले भने, “कोभिड सङ्क्रमण कम भएपछि मात्रै अघि बढ्न सक्छ।”
दुई वर्ष पहिले नेपालमा सम्पन्न भएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनका क्रममा सो रेलमार्ग निर्माणको सम्झौता भएको थियो। भारत सरकारले आफ्नै लगानी र प्रविधिको प्रयोग गरेर सो रेलमार्गको अध्ययन गर्ने सहमति भएको थियो। नेपाल र भारतीय पक्षबीच भएको सहमतिमा प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थिति थियो।
भारत सरकारकै आर्थिक र प्राविधिक सहयोगमा सीमा क्षेत्रमा पाँच स्थानमा रेल निर्माणको समझदारी भएको थियो। सस्झौतानुसार जयनगर–कुर्था र विराटनगर–जोगबनी दुई स्थानमा निर्माण अघि बढीसकेको छ। सीमा क्षेत्रमा निर्माण गर्ने भनिएको अरु तीन रेलमार्गमा जलपाइगुडी–काँकडभिट्टा, नौतनहवा–भैरहवा र नेपालगञ्जरोड–नेपालगञ्ज रहेका छन्। रासस |
चितवनमा कोरोना सङ्क्रमणबाट एक महिलाको मृत्यु चितवन। चितवन मेडिकल कलेजमा उपचाररत् ७७ वर्षीया महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ। मृतक महिला हेटौडा उपमहानगरपालिका–१९ का रहेकी बताइएको छ।
स्वाशप्रश्वास सम्वन्धि समस्याका कारण यही भदौ ७ गते कलेजमा उपचारका लागि आएकी महिलामा भदौ ९ गते सङ्क्रमण पुष्टि भएको थियो। उनीको उपचारका क्रममा आज विहान मृत्यु भएको कलेजका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए।
यससँगै जिल्लाका विभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु हुनेको सङख्या छ पुगेको छ । एक वृद्धाको घरमा नै मृत्यु भएको थियो। जिल्ला भित्र कोरोनाका कारण तीनको मृत्यु भएको छ भने अन्य एक कैलाली र तीन मकवानपुरका रहेका बताइएको छ। रासस |
एलिजा र पुष्प अभिनित ‘म सास बन्न पाए’ गीतको भिडिओ सार्वजनिक काठमाडौं। चर्चित नायक पुष्प खड्का र नायिका एलिजा गौतम अभिनित म सास बन्न पाए बोलको गीतको म्युजिक भिडिओ सार्वजनिक भएको छ।
एन.आर क्रिएशनमार्फत आज अपरान्ह उक्त भिडिओ सार्वजनिक गरिएको छ। नरेश रेग्मीको स्वर रहेको उक्त गीतमा शब्द रचना र संगीत भने वसन्त सापकोटाको रहेको छ।
म्युजिक एरेन्जर सञ्जिव बराईली हुन्। पदम सुवेदीको सम्पादन रहेको भिडिओ अर्जुन तिवारी र टिमले छायाँकन गरेको हो। भिडिओको निर्देशन तथा कोरियोग्राफी भने शिव बिकको रहेको छ।
लकडाउनकै अवधिमा यसअघि एलिजा अभिनित आधी कपाल गीतको भिडिओपनि सर्वाधिक रुचाईएको थियो। भिडिओमा नायक खड्का र नायिका गौतमको जोडी जमेको छ।
|
स्कुटर दुर्घटना हुँदा युवकको मृत्यु रुपन्देही । तिलोत्तमा नगरपालिका– ३ सीताराइस मिल नजिक एउटा स्कुटर अनियन्त्रित भएर पल्टिंदा एक युवकको मृत्यु भएको छ।
मृत्यु हुनेमा तिलोत्तमा नगरपालिका–२ शङ्करनगरका अन्दाजी ३८÷४० वर्षीय शङ्कर कार्की रहेको प्रदेश नं ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ।
बुटवलबाट मणिग्रामतर्फ जाँदै गरेको लु २६ प १४५५ नम्बरको स्कुटर गएराति ११ बजेर १५ मिनेट जाँदा आफै अनियन्त्रित भई पल्टिदा गम्भीर घाइते भएका स्कुटी चालक कार्कीलाई उपचारका क्रममा आज क्रिमसन अस्पताल मणिग्राममा मृत्यु भएको ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता डिल्लीनारायण पाण्डेले जानकारी दिए।रासस |
विदेशमा पनि नेपाल प्रहरीको पराक्रमः सुडानमा बहादुरी देखाउँदै (फोटोफिचर) काठमाडौं । अफ्रिकी मुलुक सुडानमा भारी वर्षातका कारण जनजीवन प्रभावित भएपछि सहयोग गर्दै शान्ति स्थापनार्थ सुडानको डार्फरमा तैनाथ रहेको नेपाल प्रहरीको फर्मड पुलिस युनिट (एफपीयु) का प्रहरी जवानहरु ।
तस्वीरः नेपाल प्रहरी फर्मड पुलिस युनिट सुडान |
आइसोलेसन तोडफोडका मुख्य नाइके पक्राउ खाँदबारी । सङ्खुवासभामा कोरोना सङ्क्रमित राख्न बनाइएको आइसोलेसन वार्ड तोडफोड र स्वास्थ्य सामग्री गायब बनाएको आरोपमा क्याम्पस प्रमुख पक्राउ परेका छन् । हिमालय किरण क्याम्पसका प्रमुख मातृका तिम्सिनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
आज प्रेस विज्ञप्ति जारी गर्दै प्रहरीले प्रमुख तिम्सिनामाथि आपराधिक उपद्रव गर्न नहुने मुद्दामा अनुसन्धान शुरु गरेको जनाएको छ । जिल्ला अस्पतालको किटानी उजुरीका आधारमा प्रहरीले तिम्सिनालाई पक्राउ गरेको हो ।
अस्पताल प्रशासनका अनुसार आइसोलेसन प्रयोगका लागि राखिएका सामग्री बिहीबार राति तोडफोडपछि हराएको थियो । करिब रु १५ लाख बराबरको सामग्री चोरी भएको अस्पतालका मेसु सुन्दरश्याम झाले बताए । झाका अनुसार ७० पिपिइ सेट, प्यासेन्ट मनिटर, सक्सन मेशिन, अक्सिजन मेशिन, अक्सिजन डिभाइडरलगायतका सामग्री हराएको छ ।
अहिले आइसोलेसनमा तीन जना कोरोना सङ्क्रमित उपचार गरिरहेको अस्पतालका प्रशासन प्रमुख दिपेश श्रेष्ठले बताए। तोडफोडपछि नयाँ स्वास्थ्य सामग्री लगेर तीन जना कोरोना सङ्क्रमितलाई राखिएको श्रेष्ठले बताए। |
एपीएफद्वारा अवैध सामान बरामद काठमाडौं । रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका १ सेमरपानीबाट शुक्रबार एपीएफ टोलीले करीव सात लाख १३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मूल्य बराबरको मोवाईल स्क्रिन र कम्प्युटर पार्ट्स सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट डण्डाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय भैरहवामा बुझाइएको छ ।
यसैगरी झापा जिल्लाको मेची नगरपालिकाको फोहोरमैला इलाकाबाट शुक्रबार ५ गते एपीएफ टोलीले करीव ४ लाख रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मूल्य बराबरको हार्डवयरका सामान र विभिन्न प्रकारका औषधी सशस्त्र प्रहरी बल, नेपाल फरवार्ड सुरक्षा वेश फोहोरमैलाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
बरामद सामान भन्सार कार्यालय काँकडभिट्टामा बुझाइएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट पशुपतिनगरबाट खटिएको एपीएफ टोलीले भाद्र ४ गते करीव ३ लाख ५० हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भन्सार छली अवैध रुपले ल्याउँदै गरेको उल्लेखित मूल्य बराबरको मोवाईल पार्ट्स र गाडीको पार्ट्स एपीएफ टोलीले ईलाम जिल्लाको स७३घढसर्योदय नगरपालिका ३ स्थित सीमा इलाकाबाट बरामद गरको हो । |
लिदी पहिरामा पुरिएका ३० जनाको शव फेला, ९ अझै बेपत्ता सिन्धुपाल्चोक। गएको शुक्रबार विहान सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीको लामागाउँ पहिरोमा बेपत्ता भएकामध्ये बिहीबार थप पाँचको शव फेला परेको छ ।
बिहीबार तीन महिला, एक पुरुष र एक बालकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।
बिहीबार हिरा दोङ, सानुकान्छा दोङ, बिबिरानी दोङ, ललिता दोङ र सङ ल्हामु पाख्रीन दोङको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक काफ्लेले जानकारी दिए। यससँगै पहिरोमा ज्यान गुमाउनेको संख्या ३० पुगेको छ । ९ जना अझै बेपत्ता छन् ।
हालसम्म शव फेला परेकामध्ये १६ पुरूष र १४ महिला छन् । तीमध्ये १४ बालबालिका मात्रै छन् । बेपत्ताको खोजीमा नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासी जुटेका छन् । रासस |
लिदी पहिरोः थप ३ शव फेला काभ्रे । गत शुक्रबार बिहान जुगल गाउँपालिका–२ लिदीको पहिरामा बेपत्ता भएकामध्ये थप तीनको शव भेटिएको छ । यसअघि २५ जनाको शव भेटिएकामा ११ जना अझै बेपत्ता छन् । पहिरामा परेर ३९ जना बेपत्ता भएका थिए।
एक बालक र दुई महिलाको आज शव फेला परेको इलाका प्रहरी कार्यालय जलवीरेका प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए। पाँच वर्षीय सानुकान्छा दोङ तथा ४२ वर्षीया जिबिरानी दोङ र १८वर्षीया ललिता दोङको शव फेला परेको हो । यससँगै पहिरामा ज्यान गुमाउने २८ जना पुगेका छन्।
हालसम्म शव फेला परेकामध्ये १५ पुरूष र १३ महिला छन् । तीमध्ये १४ बालबालिमा मात्रै छन् । पहिरामा हराइरहेकाहरूको खोजीमा नेपाली सेना र नेपाल प्रहरीका ६६ जना र स्थानीयवासी जुटेका छन् । एक्साभेटर ल्याउन सकिने अवस्था नरहेकाले पिक, साबेल र कोदालाका भरमा खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए।रासस |
बन्दाबन्दीमा जारी गरिएको सवारी पास प्रयोग गर्न आग्रह काठमाडौं। सरकारले सञ्चारकर्मीलाई निषेधाज्ञाका समयमा काठमाडौँ उपत्यकामा समाचार सङ्कलनका लागि सूचना तथा प्रसारण विभागले बन्दाबन्दीका अवधिमा जारी गरेको सवारी पास प्रयोग गर्न अनुरोध गरेको छ ।
विभागका शाखा अधिकृत वसन्तवहादुर खत्रीले सूचना जारी गर्दै उपत्यकामा समाचार सङ्कलन गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र विभागले यसअघि उपलब्ध गराएको सवारी पास प्रयोग गर्न आग्रह गरेका हुन्।
सवारी साधन प्रयोग गर्दा प्रयोगकर्तालाई आफ्नो तस्वीरसहितको परिचयपत्र अनिवार्य लगाउनसमेत विभागले आग्रह गरेको छ । सञ्चारगृहलाई अत्यावश्यक काममा मात्र प्रयोग गर्न र परिस्थितिजन्य अवस्थालाई समेत ध्यानमा राखी न्यूनतम सवारी साधनमात्र प्रयोग हुन विभागले अपिल गरेको छ ।
कोरोना भाइरस ९कोभिड– १९ ०को सङ्क्रमण बढ्दै गएपछि बुधबार राति १२ बजेदेखि यही भदौ १० गतेसम्म काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा जारी गरेका छन् |
सुरक्षित गर्भपतन र वैवाहिक समानताका बिषयमा समाचार कम प्रकाशित काठमाडौं। नेपालका पत्रपत्रिकाले अझैपनि बृहत्तर यौनिकता शिक्षा, सुरक्षित गर्भपतन र वैवाहिक समानताका बिषयलाई कम प्राथमिकता दिएको पाइएको छ।
राइट हेयर राइट नाउ को सहयोगमा युवालयले सन् २०१९ को जनवरीदेखि डिसेम्बरसम्म नेपालका १० वटा दैनिक पत्रिकामा प्रकाशित समाचारका आधारमा गरेको सर्वेक्षणका क्रममा यस्तो पाइएको हो।
बृहत्तर यौनिकता शिक्षा, सुरक्षित गर्भपतन र वैवाहिक समानताका बिषयमा गरिएको सर्वेक्षणका क्रममा अन्यको तुलनामा बृहत्तर यौनिकता शिक्षासँग सम्बन्धित बिषयमा समाचार बढी प्रकाशित भएको पाइएको छ। एक बर्षको अवधिमा यस बिषयमा २९२ वटा समाचार प्रकाशित भएको सर्वेक्षणले देखाएको छ । एक बर्षको अवधिमा प्रकाशित समाचारहरुमा ७५ प्रतिशत बृहत्तर यौनिकता शिक्षा सम्बन्धित समाचार प्रकाशित भएको देखिएको छ भने वैवाहिक समानताका बिषयमा ८ प्रतिशत तथा सुरक्षित गर्भपतन सम्बन्धी ४ प्रतिशत समाचार प्रकाशित भएको देखिएको छ। यसैगरी यससँग सम्बन्धित अन्य समाचारहरु १३ प्रतिशत प्रकाशित भएको समेत सर्वेक्षणका क्रममा देखिएको छ।
प्रतिवेदनका बारेमा बोल्दै युवालयका अध्यक्ष सन्तोष महर्जनले पत्रपत्रिकामा प्रकाशित समाचारहरु मध्ये यी बिषयमा समाचार अझैपनि प्राथमिकतामा पर्न नसक्नुमा बिषयबस्तुको गम्भीरताका बारेमा पर्याप्त बहस र छलफल हुन नसक्नुले भएको बताए। उनले भने, ‘सुरक्षित गर्भपतनका बारेमा विद्यमान कानुनी प्रावधानका बारेमा पर्याप्त जानकारी नहुँदा असुरक्षित गर्भपतन धेरै हुने गरेको छ।’
यस्तै वैवाहिक समानताका बारेमा ब्लू डाइमण्ड सोसाइटीका कार्यक्रम संयोजक अनुज पिटर राईले नेपालमा अझै पनि यस बिषयमा कानुनी व्यवस्था नहुँदा यो बिषयमा जटिल समस्याहरु देखा परेको बताए। राईले भने, ‘समाजले हेर्ने दृष्टिकोणका कारण लैङ्गिक अल्पसंख्यकहरु विभिन्न खालका जटिल समस्यामा पर्ने गरेका छन् । कतिपयले समाजबाट पाउने अपहेलना र दुव्र्यवहारका कारण आत्महत्या समेत गर्ने गरेका छन्।’
हाल प्रकाशित दैनिक पत्रिकाहरु दि हिमालयन टाइम्स, दि काठमाण्डौ पोष्ट, रिपब्लिका, अन्नपूर्ण पोष्ट, दि राइजिङ नेपाल, गोरखापत्र, नेपाल समाचारपत्र, नागरिक, राजधानी तथा कान्तिपुरमा प्रकाशित समाचारलाई सर्वेक्षण गरिएको थियो। |
नेपालको पत्रकारिता क्षेत्रमा कोभिड–१९ को गम्भीर असर काठमाडौं। विश्वव्यापीरुपमा फैलिएको कोरोनाभाइरस संक्रमण (कोभिड–१९) को नेपाली पत्रकारिता क्षेत्रमा गम्भीर असर देखिएको छ । नेपाल प्रेस इन्स्टिच्युट र संयुक्त अधिराज्यस्थित बर्नमोथ विश्वविद्यालले संयुक्तरुपमा सञ्चालन गरेको राष्ट्रिय सर्वेक्षणले कोरोना भाइरसका कारण पत्रकारहरुलाई मनोवैज्ञानिक र आर्थिकरुपमा गम्भीर असर पारेको र सञ्चार माध्यमका सामग्रीको उत्पादनसमेत घटेको देखाएको छ ।
२०७७ असार २६ देखि साउन ९ गतेसम्म देशका सात वटै प्रदेशबाट सबै खालका मिडियाको प्रतिनिधित्व हुनेगरी १,१३४ जना क्रियाशील पत्रकारहरुका बीचमा गरिएको सो सर्वेक्षणले अधिकांश पत्रकारहरुको मानसिक स्वास्थ्यमा असर पु¥याएको देखाएको छ । सर्वेक्षणमा सहभागी ८३ प्रतिशत पत्रकारहरुले जोखिमको अनुभूतिमा वृद्धि भएको, ७५ प्रतिशत पत्रकारहरुले चिन्ता बढेको र ६२ प्रतिशत पत्रकारहरुले आफूहरु दुःखमा परेको अनुभुति भएको प्रतिक्रिया दिएका छन् । २५ प्रतिशत पत्रकारले आफूहरु चरम निराशाबाट ग्रसित रहेको समेत उल्लेख गरेका छन् ।
त्यस्तै पत्रकारहरु चरम आर्थिक मारमा परेको सर्वेक्षणको नतिजाले देखाएको छ । सर्वेक्षणमा सहभागी ७४ प्रतिशत पत्रकारहरु आर्थिकरुपमा प्रभावित भएका छन् जसमध्ये ३८ प्रतिशतले आफूहरु पारिश्रमिक कटौतीमा परेको बताएका छन् ।
महाव्याधिले सबै खालमा समाचार प्रकाशन तथा प्रसारणलाई उल्लेखनीय प्रभाव पारेको छ । सर्वेक्षणमा सहभागीले प्रसारण, श्रव्य तथा श्रव्यदृश्य सामग्रीको उत्पादन घटेको प्रतिक्रिया दिएका छन् । छापा माध्यमहरुको पनि प्रकाशन आवृत्ति (फ्रीक्वेन्सी) तथा पृष्ठ दुबै घटेको पाइएको छ । केही प्रकाशनहरु डिजिटल माध्यममा मात्र सीमीत भएका छन् । छापा माध्यममा कार्यरत ५५ प्रतिशत सहभागीलेआफू कार्यरत छापा माध्यमको पृष्ठ घटेको बताएका छन् भने ४८.४ प्रतिशत (२२७ जना) ले छापा माध्यमको प्रकाशनको समय (फ्रीक्वेन्सी) घटेको उल्लेख गरेका छन् । रेडियोमा कार्यरत ५१.८ प्रतिशत (१७६ जना) उत्तरदाता र टेलिभिजनमा कार्यरत ४२.८ प्रतिशत (११६) उत्तरदाताले प्रसारण सामग्रीको उत्पादनको घटेको उल्लेख गरेका छन् ।
सर्वेक्षणमा विपतसँग जुध्ने पत्रकारहरुको क्षमतालाई स्वमूल्यांकनको आधारमा नेट प्रोमोटर स्केल विधिबाट मापन गरिएको थियो। जसले पत्रकारहरुमा विपतको तयारी कमजोर रहेको देखाएको छ । पत्रकारहरुलाई तालिमलगायतका क्षमता विकासमा स्रोतसाधनको लगानी आवश्यक रहेको समेत प्रतिवेदनमा औंल्याइएको छ । त्यसबाहेक विपतको समयमा पत्रकारिता क्षेत्रको क्रियाशीलताका लागि सरोकारवालाहरुको लागि विभिन्न सिफारिससमेत सर्वेक्षण प्रतिवेदनमा गरिएको छ ।
|
जिपको ठक्करबाट दुई प्रहरी जवानको मृत्यु पोखरा। पोखराको पस्याङ्मा सवारी दुर्घटनाहुँदा मोटरसाइकलमा गस्ती गरिरहेका दुई प्रहरी जवानको ज्यान गएको छ । ग१ब ३६९ नंकोे मोटरसाइकल गस्तीमा रहेका प्रहरीलाई सोही दिशाबाट आउँदै गरेको ग२च २६२६ नम्बरको बोलेरो जिपले ठक्कर दिँदा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए।
हमालका अनुसार दुर्घटनामा परेका प्रहरी जवान पाल्पा घर भएका २० वर्षका चन्द्रबहादुर बगालेको घटनास्थलमै मृत्यु भएको हो । अर्का घाइते बर्दिया घर भएका प्रहरी हवल्दार ३४ वर्षीय डम्बरबहादुर थारुको उपचारको क्रममा बुधबार मृत्यु भएको हो । उनीहरु दुवै वडा प्रहरी कार्यालय बैदाममा कार्यरत थिए । जिप चालक धादिङ जिल्ला धुनीबेशी गाउँपालिका–५ घर भई कास्कीको पोखरा महानगरपालिका–२३ बस्ने विशाल केसीलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरीरहेको छ । रासस |
भक्तपुर नगरपालिकामा सार्वजनिक यातायात भदौ १५ सम्म बन्द भक्तपुर । भक्तपुर नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालित सार्वजनिक यातायात यही भदौ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । नगर प्रमुख सुनिल प्रजापतिका अध्यक्षतामा आज भक्तपुर नगरभित्रका यातायात व्यवसायीका प्रतिनिधिसँग भएको छलफलबाट यस्तो निर्णय गरिएको हो ।
विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस सङ्क्रमण नेपालमा पनि तीव्र गतिमा बढिरहेको र काठमाडौं उपत्यकालगायत विभिन्न शहरमा दैनिक सयौंँ संक्रमित थपिरहेको तथा भक्तपुरमा पनि संक्रमित बढ्दै गएको देखिएकाल नगरभित्र सञ्चालन हुने छोटो दूरीका सार्वजनिक यातायात भदौ दोस्रो सातासम्मका लागि पूर्ण रुपमा बन्द गर्ने निर्णय गरिएको नगर प्रमुख प्रजापतिले जानकारी दिए । |
गृहमन्त्रीको स्कर्टिङ गर्ने गाडीले ठक्कर दिँदा २ महिला घाइते काठमाडौं। प्रहरीको गाडीले स्कुटीलाई ठक्कर दिँदा २ जना महिला घाइते भएका छन्। गृहमन्त्रीलाई स्कर्टिङ गर्न जान लागेको गाडीले ठक्कर दिँदा स्कुटरमा सवार २ जना सामान्य घाइते भएको ट्राफिक प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) वामदेव गौतमले जानकारी दिए।
गौतमले भने, ‘ प्रहरी हेटक्वाटरबाट नियमित डिउटीमा जाँदै गर्दा विहान ८ बजे सिंह दरवारको पश्चिम गेट नजिकै स्कुटरलाई गाडिले ठक्कर दिएको हो। दुई महिला सामान्य घाइते हुनुहुन्छ। उहाँहरुको ट्रमासेन्टरमा उपचार भइरहेको छ।’
स्कुटर र गाडीमा कस्को तर्फबाट गल्ती भएको थियो भन्ने विषयमा अनुसन्धान जारी रहेको एसपी गौतमले बताए । नेपाल प्रहरीको बा १ झ ५५५४ नम्बरको जीपले बा ९४ प १०२५ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो।
जीपको ठक्करबाट नुवाकोटको कविलास घर भएका २३ वर्षीया लिला थापा र २७ वर्षीया सुधा थापा घाइते भएका छन्। |
अनलाइनमार्फत ४८ लाख ठगी गर्ने विदेशी नागरिक पक्राउ काठमाडाैं। प्रहरीले नक्कली मुद्रा कारोवार गर्ने र अनलाइन ठगी गर्ने विदेशी नागरिकलाई पक्राउ गरेको छ। प्रहरीको महानगरीय अपराध महाशाखाले सामाजिक सञ्जालमा एक महिलालाई आफू लण्डनको बुपा क्यामवाल अस्पतालको डाक्टर रहेको र नेपाल आएपछि बिहे गर्ने भनी रु ४८ लाख ५४ हजार ४२० ठगी गर्ने रिपब्लिका दि एङ्गोलाका ४८ वर्षीय सिल्भा एन्टोनियो दा कोस्टालाई पक्राउ गरेको हो।
महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक ईश्वर कार्कीले पीडित महिलालाई नयाँ वर्षको अवसरमा हिराको औँठी, घडी, सुनको सिक्री र नगद रु दुई लाख ३० हजार पाउण्ड पठाएको र सामानको भन्सार र एक्सचेञ्ज चार्ज बुझाउन प-यो भनी उक्त रकम ठगी गर्ने विदेशी नागरिक कोस्टालाई शुक्रबार सोल्टी होटलबाट पक्राउ गरिएको जानकारी दिए।
“पक्राउ कोस्टाले भन्सार छुटाउनका लागि आवश्यक पीडित महिलासँग थप रु २० लाख मागेपछि प्रहरीको टोलीले शुक्रबार सोल्टी होटलबाट नियन्त्रणमा लिएको हो”, प्रवक्ता कार्कीले भने। पक्राउ व्यक्तिले सोहीदिन अर्की युवतीबाट पनि रु ३७ हजार ठगी गरेको अनुसन्धानमा खुलेको छ।
पक्राउ परेकै दिन प्रहरीले कोष्टाको ठमेलस्थित कोठामा समेत खानतलासी गरेको छ। खानतलासीका क्रममा कोष्टाको कोठाबाट नक्कली नोट बनाउन प्रयोग हुने केमिकल र कागजसमेत प्रहरीले बरामद गरेको प्रवक्ता कार्कीले बताए। पक्राउ व्यक्ति विसं २०७६ फागुनमा नेपाल आएको प्रहरीले जनाएको छ।
पक्राउ व्यक्तिसँग नेपाली रु तीन लाख १५ हजार ७४५, अमेरिकन डलर ९००, एटिएम कार्ड, ल्यापट एक थान, नक्कली नेपाली एक हजारका नोट तीन थान, नोट आकारको कालो कागजको बण्डल, ए फोर पेपरलगायतका सामग्री प्रहरीले बरामद गरेको छ। पक्राउ व्यक्तिलाई जिल्ला अदालतको पाँच दिनको म्याद थप गरी अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको महाशाखाले जनाएको छ। रासस |
नेपाली सेनाका सहायक रथी राणा बर्खास्त काठमाडौं। नेपाली सेनाका सहायक रथी प्रयोगजंग राणा बर्खास्तगीमा परेका छन्। सैनिक अदालतले पाँचखालस्थित वीरेन्द्र सैनिक तालिम केन्द्रमा रहँदा आर्थिक अनियमितता गरेको ठहर गर्दे १ करोड ७२ लाख जरिवाना र भविष्यमा सरकारी सेवामा अयोग्य हुने गरी सहाक रथी राणालाई बर्खास्त गर्ने निर्णय गरेको हो।
प्रधानसेनापति पूर्णचन्द्र थापाको निर्देशनमा गत कात्तिकमा विभिन्न सैनिक अड्डाभित्र भएका भ्रष्टाचार छानबिन गर्न निगरानी संयन्त्र गठन गरेपछि राणालाई जेठमा नियन्त्रणमा लिई अनुसन्धान शुरु गरिएको थियो।
उपरथीको नेतृत्वमा गठन भएको उक्त संयन्त्रले छानबिनको गोप्य प्रतिवेदन प्रधानसेनापति थापालाई दिएपछि राणालाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको थियो।
सहायक रथी राणासँगै, महासेनानी नवीन सिलवाल र प्रमुख सुवेदार मिठुराम विश्वकर्मालाई पनि बर्खास्त गरिएको छ।
यस्तै सहसेनानी लक्ष्मीकान्त खनाल, सुवेदार भोजबहादुर बिष्ट र जमदार विनोद बस्नेतलाई एक तह दर्जा घटुवा तथा प्राविधिक सहसेनानी फिरोज महर्जन र जमदार भद्रबहादुर शाहीलाई नसिहत र महासेनानी राजेन्द्रमणि गिरी र लेखा सुवेदार कर्मचारी नवराज पाण्डे ९अवकाश प्राप्त० लाई सफाइ दिने फैसला गरेको छ।
संयन्त्रले सैनिक अस्पताल, सैनिक सामग्री प्राप्ति निर्देशनालय, विभिन्न सैनिक तालिम केन्द्र, सैनिक महाविद्यालय, इन्जिनियरिङ विभागलगायत बजेट बढी विनियोजित भएका दुई दर्जन बढी सैनिक अड्डामाथि छानबिन गरेको थियो। |
यो साता सङ्क्रमणका कारण विदेशमा ज्यान गुमाउने न्यून लन्डन। विश्वव्यापी महामारी कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा रहेका नेपालीमा परेको प्रभाव केही मत्थर भएको छ। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) कोभिड–१९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माका अनुसार यो साता सङ्क्रमणका कारण ज्यान गुमाउने गैरआवासीय नेपालीको सङ्ख्या शून्य छ।
गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिबार साँझसम्म भारत, स्पेन, बेल्जियम, कतार, साउदी अरबलगायतका देशमा कोरोना सङ्क्रमणमा सामान्य वृद्धि भए पनि अन्य देशमा भने कोरोना सङ्क्रमणको दर न्यून हुँदै गएको छ।
विश्वका ३८ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्। हालसम्म नेपालसहित विश्वभर २९३ जना नेपालीको कोरोना भाइरसले ज्यान गइसकेको छ। कोरोना भाइरसका कारण बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की नेदरल्याण्ड्स, स्वीडेन, भारत, दक्षिण अफ्रिकालगायतका देशमा रहेका नेपालीको ज्यान हो।
हालसम्म नेपालसहित ५९ हजार ४११ नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ। ती ८३ प्रतिशत अर्थात् ४८ हजार ५०४ जना कोरोना सङ्क्रमणबाट मुक्त भएको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाले जानकारी दिए।
५१ हजार ४४१ जनाको उद्धार
विदेशमा अलपत्रमध्ये हालसम्म ५१ हजार ४४१ जनाको उद्धार गरिएको छ। गैरआवासीय नेपाली सङ्घ, नेपाली राजदूतावास र कूटनीतिक नियोगबीचको सहकार्यमा कोरोना भाइरसका कारण जारी लकडाउनका कारण विदेशमा अलपत्र नेपालीको उद्धार गरिँदै आएको छ। विभिन्न ३० मुलुकमा भएको ३२७ उडानमार्फत उनीहरुलाई उद्धार गरिएको हो।
सरकारी नीतिले थप समस्या
दैनिकरूपमा अधिकतम ५०० जनासम्मलाई मात्रै उद्धार गरेर विदेशबाट ल्याउने सरकारको निर्णयले विदेशमा अलपत्र र समस्यामा परेका नेपाली कामदारलगायत अन्य विविध प्रयोजनले विदेश गएका तर उतै रोकिएका नेपालीको उद्धारमा थप ढिलाइ हुने भएको छ।
सङ्घअन्तर्गतको वैदेशिक रोजगार समितिका संयोजक तथा उपाध्यक्ष डा बद्री केसीका अनुसार मध्यपूर्वमा हजारौँको सङ्ख्यामा रहेका अलपत्र नेपाली, भिसा अवधि सकिएका तथा महामारीका कारण अन्य विभिन्न समस्यामा परेका नेपालीहरु यो निर्णयले थप निराश बनेका छन्।
विशेषगरी मध्यपूर्वमा अलपत्र नेपाली यस निर्णयबाट बढी प्रभावित हुने केसीको भनाइ छ। उनले सरकारले यस विषयमा पुनर्विचार गर्नुपर्ने बताएका छन्। विदेशमा रहेका नेपालीको जतिसक्दो छिटो उद्धार गर्नुपर्नेमा पछिल्लो निर्णयले थप समस्या थप्ने भएकाले उद्धार अभियानलाई तीव्रगतिमा अघि बढाउन उहाँले सरकारलाई आग्रह गरे।
यसअघि सरकारले विदेशस्थित कूटनीतिक नियोगको सिफारिसमा ३०० र वैदेशिक रोजगार कल्याणकारी कोषबाट खर्च व्यहोर्ने गरी २०० जना गरेर जम्मा ५०० जनालाई मात्रै उद्धार गर्ने जनाएको थियो।
२४६ शव नेपाल ल्याइयो
विदेशमा विविध कारणले मृत्यु भएका २४६ जनाको शव नेपाल ल्याई परिवारलाई बुझाइएको छ। एक सय ७२ जनाको गन्तव्य मुलुकमै अत्येष्टीका लागि सहमति प्राप्त भएको छ। विदेशमा मृत्यु भएका ४९४ जनामध्ये अझै ७६ जनाको शव नेपाल ल्याउन बाँकी छ। राससcoro |
बेपत्ता बालकको शव फेला काठमाडौं । झिमरुक– प्युठानका माडीखोलामा खस्दा बेपत्ता भएका दुई बालकमध्ये एकको शव फेला परेको छ। गत साउन २४ गते साइकलसँगै माडीखोलामा खसेर बेपत्ता भएका स्वर्गद्वारी नगरपालिका–७ सोत्रे निवासी १० वर्षीय विपीन गौतमको शव शुक्रबार बिहान फेला परेको हो।
शव प्युठान नगरपालिका–१ को झिम्टीबगरस्थित माडीखोलाको किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिए। सोही ठाउँका ११ वर्षीय बालक सञ्जोक पार्धे भने अझै फेला परेका छैनन् । आज भेटिएका गौतमको शवलाई परिवारको जिम्मा लगाउने प्रहरी निरीक्षक पौडेलले बताए।रासस |
मनमैंजुमा छुरा प्रहार गरी एक युवककाे हत्या काठमाडाैं। काठमाडौँको मनमैंजुमा छुरा प्रहार गरी एक युवककाे हत्या गरिएकाे छ। शुक्रबार सुमन गोर्खा खाजा घरमा नुवाकोटको २४ वर्षीय लक्ष्मण तामाङको हत्या भएको हाे। तार्केश्वर नगरपालिकाको मितेरी पुलस्थित सो खाजा घरमा दोर्जे तामाङसहितको समूहले चक्कुले हानेर तामाङको हत्या गरेको हाे।
उनीहरूबीच भनाभनपछि विवाद हुँदा तामाङमाथि छुरा प्रहार भएकाे थियाे। छुरा प्रहारबाट गम्भीर घाइते भएका तामाङलाई ग्रिनसिटी अस्पतालमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्।
लक्ष्मणमाथि छुरा प्रहार गर्ने दोर्जे तामाङ फरार भएका छन्। उनको खोजीमा महानगरीय अपराध महाशाखा र काठमाडौँ प्रहरीको टोली खटिएको छ। |
रुपन्देहीमा कोरोना नतिजा आधा घण्टामै रुपन्देही । लुम्बिनी प्रादेशिक अस्पतालमा आधा घण्टामै कोभिड –१९ को परीक्षण गर्न सकिने द्रुत परीक्षण सेवा शुरु भएको छ । कोरोना सङ्क्रमण भएमा ४५ मिनेट र नभएका खण्डमा ३० मिनेटसम्मा नतिजा दिने मेसिन जडान गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. राजेन्द्र खनालले जानकारी दिए ।
पिसिआर परीक्षणलाई तीव्रता दिन नेपाल सरकार, राष्ट्रिय क्षयरोग कार्यक्रमअन्तर्गत उपलब्ध जिन एक्सपर्ट मेसिनलाई अपडेट गरी अस्पतालमा एक्सपर्ट एक्सप्रेस सार्स कोभ –२ परीक्षण सेवा शुरु गरिएको अस्पतालले जनाएको छ । प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले आज मेसिनबाट आफ्नै स्वाब परीक्षण गरी सेवा शुभारम्भ गरे । सामान्य पिसिआर परीक्षणको समयावधि ढिला हँुदा उपचार समस्या भएको गुनासो आइरहेको बेला यस यन्त्रबाट सहयोग मिल्ने मन्त्री बरालले बताए। |
पहिरामा बेपत्ता व्यक्तिको शव फेला टिस्टुङ । त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको थाहा नगरपालिका–१२ स्थित गैरीगाउँमा पहिरो परी बेपत्ता भएका व्यक्तिको शव भेटिएको छ । पहिरोमा परी बेपत्ता भएका स्थानीय ५४ वर्षीय काले मोक्तानको शव अहिले बिहान भेटिएको इलाका प्रहरी कायालय पालुङका प्रहरी निरीक्षक विकासराज तामाङले जानकारी दिए।
पहिरोसँगै खसेको ढुङ्गाले थिचिएर मोक्तानको मृत्यु भएको र उनी घोप्टो परेको अवस्थामा मृत भेटिएको प्रहरी निरीक्षक तामाङले जानकारी दिए। पहिरो खसेलगत्तै सम्पर्कविहीन भएका मोक्तानको खोजीकार्य बिहीबार बेलुका नै शुरु गरेको भए पनि माथिबाट पहिरो झरिरहेकाले सम्भव भएको थिएन । आज बिहानै घटनास्थल पुगेर प्रहरीले बेपत्ता व्यक्तिको खोजी शुरु गरेको थियो।
मृतक ढुङ्गाखानीकै कर्मचारीको रुपमा रेखदेखको काम गर्दै आउनुभएको थियो । पहिरो खस्नु अघिसम्म उनी रेखदेखकै काममा खटिरहेको र पहिरो झर्न लागेको भन्दै अरुलाई सजग गराइरहेको प्रत्यक्ष दर्शीले बताएका छन् । पहिरोमा परेर एउटा स्काभेटर र तीनवटा टिप्पर पुरिएका छन् । पहिरोले सडक पुरिएपछि त्रिभुवन राजपथ अवरुद्ध छ । पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको प्रहरीले बताएको छ। |
ज्यान उद्योगका फरार प्रतिवादी पक्राउ काठमाडौं । ज्यान मार्ने उद्योगका फरार प्रतिवादी काठमाडौं चन्द्रागिरि नगरपालिका–६ बाला गाउँ बस्ने २७ वर्षीय अनिल उदासलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उदासलाई चन्द्रागिरि नगरपालिका–८ मातातीर्थ चोकबाट बुधबार पक्राउ गरेको हो।
अभियुक्त उदास र टेकु बस्ने सिन्धुली सुनकोशी गाउँपालिका–३ का २८ वर्षीय अमृतकुमार वैद्यले २०७६ चैत २ गते राति चन्द्रागिरि नगरपालिका १५ विष्णुदेवी घर भएका बा २ ज ५३१६ नम्बरको ट्याक्सीका चालक विष्णुबहादुर श्रेष्ठलाई ढुङ्गा तथा इँटा प्रहार गरी गम्भीर घाइते बनाएका थिए।
घटनामा संलग्न वैद्यलाई प्रहरीले तत्काल पक्राउ गरेको थियो भने उदास उक्त घटनापश्चात फरार रहेका थिए । उदासलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको वृत्तले जनाएको छ। |
सवारी दुर्घटनामा दुई जनाको मृत्यु, दुई घाइते सप्तरी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खड्क नगरपालिका–६ मा आज भएको सवारी दुर्घटनामा परी एक बालिकासहित दुई जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना४च ८४८३ नंको पिकअप र विपरीत दिशाबाट आउँदै गरेको स७प ८९३२ नंको मोटरसाइकल एकापसमा ठोक्किँदा सो दुर्घटना भएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा बालिकासहित चार जना सवार थिए ।
मृत्यु हुनेमा मोटरसाइकल चालक सोही नगरपालिका निवासी ४५ वर्षीय कासिम अन्सारी र ३ वर्षीया नातिनी फरना खातुन रहेको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए । ठक्करबाट गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि रुपनीस्थित युनिक अस्पतालमा भर्ना गरिए पनि उपचारकै क्रममा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोही दुर्घटनामा परी मृतककी ४० वर्षीया श्रीमती रोशना खातुन र २५ वर्षीया छोरी समसुन खातुन गम्भीर घाइते भएका छन् । उनीहरुको युनिक अस्पतालमा उपचार भइरहेको छ भने पिकअप र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । |
प्रेम र विवाहको नाटक गरेर फरार भएका युवा पक्राउ धादिङ । प्रेम र विवाहको नाटक गरेर युवती बलात्कार गरेको आरोपमा थानकोट प्रहरीले धादिङ घर भएका राजन विश्वकर्मा उर्फ (राज सेन्चुरी)लाई पक्राउ गरेको छ।
काठमाडौं घर भएकी २४ वर्षीया युवतीलाई राजनले तीन महिना प्रेम सम्बन्ध राखेर नक्कली विवाह गरे। नाम, थर ढाँटेर प्रेम विवाह गरेका राजनले थानकोट चेकपोष्ट स्थित डेरामा युवतीलाई ६ दिन बलात्कार गरेर फरार भएको प्रहरीले जनाएको छ।
बलात्कार गरेर पीडितको दराजमा राखेको २ लाख नगद र २ तोला सुन लिएर भागेको महानगरीय प्रहरी वृत थानकोटको डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए।
‘पीडितले दिएको जाहेरीको आधारमा हामीले उनलाई पक्रेर बलात्कार र ठगी मुद्दा चलाएका छौँ,’ डिएसपी श्रेष्ठले भने, ‘बलात्कार गर्ने नियतले नै प्रेम–विवाहको बहाना बनाएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ।’
काठमाडौँमा घर र जमिन भएकी युवतीलाई सेन्चुरीले ठग्ने र बलात्कार गर्ने नियतले नै मायाको जाल बिछ्याएको पाइएको छ । ‘भागी विवाह’पछि थानकोट चेकपोष्ट स्थित एक घरमा खोजेको कोठामा फर्निसिङ गर्ने लगायतका खर्च युवतीले नै व्यहोरेकी थिइन् ।
साउन २२ मा बिहान ५ बजे युवती ब्यूँझदा राजनले पैसा र सुन लिएर भागेको थाहा पाएपछि युवतीले महानगरीय प्रहरी वृत थानकोटमा उजुरी दिएकी हुन्। |
डोटीमा बस दुर्घटना : तीनको मृत्यु, ३२ घाइते डोटी । जिल्लाको पूर्वीचौकी गाउँपालिका–१ फुलौटमा बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराका अनुसार कैलालीबाट अछामका लागि जाँदै गरेको ना ६ ख २५२९ नम्बरको बस दुर्घटनामा परेको हो।
दुर्घटनामा परी मृत्यु हुनेको सनाखत हुन सकेको छैन । नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोलीले घाइतेहरुको अहिले उद्धार गरिरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल डोटी ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक जनकराज पाण्डेले बताए। उनले भने, ‘हामी घटनास्थलमै घाइतेको उद्धार गरिरहेका छौँ, घाइतेको सङ्ख्या अधिक छ, जिल्ला अस्पताल पठाउने तयारीमा छौँ ।’
बस सडकबाट ३० मिटर तल खसेको थियो । वर्षाका कारण सडक चिप्लो भएकाले गाडी दुर्घटना भएको हुनसक्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलले जनाएको छ। |
करेन्ट लागेर मृत्यु सप्तरी । पानी तान्ने मोटरबाट करेण्ट लागेर सप्तरीको राजविराजमा आज एक जनाको मृत्यु भएको छ । राजविराज नगरपालिका–१ बस्ने ३५ वर्षीय इजलाम आलमको करेन्ट लागेर मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।
घरको पानी तान्ने मोटरमा विद्युतीय तार जोड्ने क्रममा करेन्ट लागेर उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी तीलक भारतीले बताए । |
जिल्ला सेक्रेटरीसहित तीन कार्यकर्ता पक्राउ वीरेन्द्रनगर । कर्णालीमा नेत्र विक्रम चन्द नेतृत्वका जिल्ला सेक्रेटरीसहित तीन जना कार्यकर्ता पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको टोलीले चन्दका नेता तथा कार्यकर्तालाई पक्राउ गरेको हो ।
मुगुका सोरु गाउँपालिका–६ का जिल्ला सेक्रेटरी उदय भनिने राजबहादुर भाम र कार्यकर्ताहरु जुम्लाको हिमा गाउँपालिकाका नन्दबहादुर तिरुवा र सपना बुढा पक्राउ परेको प्रदेश प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिए । उनका अनुसार पक्राउ परेका चन्दका नेता कार्यकर्ताबाट चन्दा असुल गरेका ठेलीसँगै विभिन्न जनप्रतिनिधिको नामावली, सदस्यता फारम, पार्टीका किताबसमेत बरामद गरिएको थियो । |
सुटकेशमा शव प्रकरणः एक युवती चितवनबाट पक्राउ काठमाडौं। काठमाडौंमा भएको विभत्स हत्या प्रकरणमा अनुसन्धान गरिरहेको प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ। आइतबार गोंगबु क्षेत्रमा टाउको र खुट्टा अलग गरिएको एक शव सुटकेशमा फेला परेको थियो।
शव फेला परेको दोस्रो दिन प्रहरी संदिग्ध युवतीलाई चितवनको ठाँडीबाट पक्राउ गरिएको प्रहरी उच्च स्रोतले जानकारी दियो। स्रोतले भन्यो, ‘यो प्रकरणमा हामीले एक युवतीलाई नियन्त्रणमा लिएका छौं। उनलाई चितवनबाट काठमाडौं ल्याइँदै छ। थप कुरा उनीसँग सोधपुछ भएपछि खुलासा होला।’
प्रहरीले शवको पहिचान हुन नसकेपछि सोमबार बिहान सामाजिक सञ्जालमा तस्वीर राखेर पहिचानका लागि अनुरोध गरेको थियो। त्यसपछि मृतकका मामाले उनी दाङका कृष्णबहादुर बोहोरा रहेको सनाखत गरेका थिए।
प्रहरीले शवको पहिचान भएसँगै वारदात भएको घरसमेत पत्ता लगाएको छ। शव भेटिएको स्थानबाट करिब ५० मिटर दूरीको एक चार तले घरमा सो वारदारत भएको भन्दै प्रहरीले अनुसन्धान गरिरहेको छ।
अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले डिसी नेपालसँग भने, ‘घटनालाई विभिन्न कोणबाट हामीले अनुसन्धान गरिरहेका छौं। अहिले नै कुनै निश्कर्षमा पुगन सकिने अवस्था छैन। विभिन्न मानिसहरुसँग सोधपुछ जारी छ।’ |
र्याली अफ होपः विश्व नेताहरूले भने ‘मानवता बचाउन विश्व एक जुट हुनुपर्छ’ सियोल। आइतबार दक्षिण कोरियाबाट संञ्चालन गरिएको र्याली अफ होपमा संसारभरिका करिब १९४ देशका दशलाख भन्दा बढी सहभागिहरूले प्रत्यक्ष रुपमा सहभागिता जनाएका छन्। टेलिभिजन, तथा विभिन्न सामाजिक संजालहरूका माध्यमबाट करिब १ करोड मानिसहरूले कार्यक्रमलाई हेरेका छन्।
कोभिड १९ ले विश्वमा अकल्पनीय क्षति पुर्याएको छ। लाखौं मानिसहरूले मृत्युवरण गरिसकेका छन्, संख्या अझै बढ्दो क्रममा नै छ। कोभिड १९ पछिको आर्थिक, सामाजिक, मनोसामाजिक, र राजनीतिक अवस्थाको सामना गर्न निकै मुस्किल पर्ने देखिन्छ। द्वन्द्व र लघुताभाषमा फसेको विश्व नेतृत्वलाई यस र्याली अफ होपले दृश्टिकोण उपलब्ध गराएको छ।
संयुक्त राष्ट्रसंघीय पूर्व महासचिव, वान की मुनले पाहुना तथा विश्वभरिका सहभागिहरूलाई स्वागत गरेको कार्यक्रममा राष्ट्रपति डोनाल्ड ट्रम्पका अध्यात्मिक सल्लाहकार पावला ह्वाइटले स्तुति घोष गरेकी थिइन् भने हाउस अफ काउन्सिलर जापानका पूर्व अध्यक्ष चुइची दाते र अमेरिकी प्रतिनिधि सभाका पूर्व सभामुख न्युट ग्रिनगिचले बधाइ सन्देश दिएका थिए ।
कम्बोडियाका प्रधानमन्त्री सम्देच हुन सेन, सेनेगलका राष्ट्रपति म्याक्की साल, निजरका प्रधानमन्त्री ब्रिजी राफिनी, क्यानाडाका पूर्व प्रधानमन्त्री, स्टेफन हार्फर, अल्बेनियाका पूर्व राष्ट्रपति अल्फ्रेड मोइस्यू, र ग्वाटेमालाका पूर्व राष्ट्रपति जिमी मोरालेस कार्यक्रममा सहभागी थिए। उनीहरुले कोरोनाविरुद्धको लडाईँमा विश्व भाईचाराको व्यवहार हुनुपर्ने बताएका छन्। उनीहरुले कोराना विश्वव्यापी संकट भएको भन्दै यसविरुद्ध विश्व नै एकजुट भएर लाग्नुपर्ने बताएका छन्।
युनिभर्सल पीस फेडेरेसनकी सहसंस्थापिका, र्याली अफ होप कि संयोजनकर्ता तथा मदर अफ पीस, डा हाक जा हान मुनले विशेष मन्तव्य दिएकी थिइन्। उनले भनिन्, ‘हामी अब परिवारमा केन्द्रित सर्वव्यापक नैतिक एवं अध्यात्मिक मूल्यमान्यता तर्फ फर्कनु आवश्यक छ।’ विगत २ बर्ष भित्रमा विश्वका विभिन्न देशहरूमा १४ वटा शिखर सम्मेलन सम्पन्न गरेकी डा मुनले विश्व एक घर, विश्वका सम्पूर्ण मानिसहरू एक परिवार तथा वसुदैव कुटुम्बकमको मान्यतालाई जोड दिंदै भनिन्, ‘यो नै हाम्रो सम्पदा र अगाडिको बाटो दुवै हो।’ |
घुस लिएको अभियोगमा मुद्दा काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ढोरपाटन नगरपालिका बाग्लुङका इञ्जिनीयर मिलन अधिकारीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । उपभोक्ता समितिबाट भएको सडक निर्माणसम्बन्धी योजनाको भुक्तानी दिएवापत अधिकारीले विभिन्न बहाना बनाइ घुस मागेको पाइएको आयोगले जनाएको छ । इञ्जिनीयर अधिकारीले सेवाग्राहीबाट रु एक लाख घुस माग गरेको पाइएकाले आयोगको पोखरा कार्यालयबाट गएको टोलीले पक्राउ गरेको थियो । आयोगले आरोपी इञ्जिनीयरलाई बिगोअनुसारको कारवाहीको माग गर्दै मुद्दा दायर गरेको प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।
यस्तै आयोगले आजै घरेलु तथा साना उद्योग कार्यालय नेपालगञ्ज बाँकेका उद्योग अधिकृत हुकुमबहादुर ओलीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार ठेक्कापट्टाको अनुमतिपत्र बनाइदिने कार्यमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग रु ९६ हजार ३०० घुस माग गरेको पाइएको छ । आयोगले आरोपी उद्योग अधिकृत ओलीविरुद्ध बिगोअनुसारको कारवाहीको माग गरेको छ । |
माडीका मेयर भन्छन् : भारतको अयोध्यापछि नेपालको अयोध्यामा पनि मन्दिर बनाउने तयारी काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली भगवान रामचन्द्रको जन्म मूभि नेपालमै रहेको बताएपछि नेपालमा रामको जन्म भूमिलाई लिएर बहस चलिरहेकै बेला रामको जन्म भूमि मानिएको भारतको अयोध्यामा राम मन्दिर निर्माणका लागि शिलान्यस भयो।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले धुमधामका साथ उत्तरप्रदेशको अयोध्यामा मन्दिर शिलान्यास गर्दा दिएको मन्तव्यमा रामको सम्बन्ध नेपालको जनकपुरसँग रहेको स्मरण गरे। रामको बिहे जनकपुरकी राजकुमारी सीतासँग भएको थियो।
तर, यता नेपालमा भने राम ज्वाईँ नभएर छोरा भएको बहस नेपालमा चलिरहेको छ। रामको जन्म भूमिलाई लिएर नेपालमा केही विज्ञहरुले आ आफ्नो मत पनि राखिरहेका छन्।
यहीबीचमा शनिबार रामको जन्म भूमि रहेको प्रधानमन्त्रीले दावी गरेको चितवनको माडी नगरपालिकाका जनप्रतिनिधिले प्रधानमन्त्री ओलीसँग बालुवाटारमा भेट गरे। र भेटमा प्रधानमन्त्री ओलीले २०७८ को रामनमवीमा अनावरण गर्ने गरी साविकको अयोध्यापुरी गाविसमा राम, लक्ष्मण र सीताको भव्य मूर्तिसहित मन्दिर बनाउन निर्देशन दिए।
माडी नगरपालिकाका मेयर ठाकुरप्रसाद ढकालको नेतृत्वमा आएको टोलीसँग कुरा गर्दै प्रधानमन्त्रीले जतिसक्दो चाँडो राममन्दिरका लागि योजना बनाएर कामममा लाग्न निर्देशन दिएको माडी नगरपालिकाका मेयर ढकालले बताए।
मेयर ढकालले प्रधानमन्त्रीले दिएको निर्देशनबाट उत्साहित भएको बताएका छन्। डिसी नेपालसँग कुरा गर्दै ढकालले शनिबार करिव २ घण्टा प्रधानमन्त्रीसँग कुरा गर्नपाउँदा खुसी भएको बताउँदै माडीमा राममन्दिर निर्माण गर्न दिएको निर्देशनबाट पनि उत्साहित भएको बताएका हुन्।
उनले भने, ‘प्रधानमन्त्रीसँग लामो समय कुरा गर्न पाए खुसी छु। करिव २ घण्टासम्म कुरा भएको थियो। प्रधानमन्त्रीज्यूले माडीमा रामको जन्म भएको धेरै तथ्यहरुले प्रमाणित गर्छ भन्नु भयो। चाँडै राममन्दिर निमार्णका लागि निर्देशन दिनुभयो। माणिबासी उत्साहित छौं।’
उनले डिसी नेपालसँग भने, ‘मन्दिर निर्माण गर्ने कुरा, लाखको विषय होइन, करोडौंको कुरा छ, त्यसैले हामीले बजेटका विषयमा पनि प्रधानमन्त्रीसँग कुरा गरेका छौं।’
प्रधानमन्त्री ओलीले अयोध्यापुरीलाई रामधामकै रुपमा विकास गर्ने गरी मास्टर प्लान बनाउनसमेत भनेका छन्। माडी नगरपालिकाले राममन्दिर निमार्णका लागि आवश्यक योजना बनाउने पनि तयारी गरिरहेको नगर प्रमुख ढकालले जानकारी दिए।
माडी नगरपालिका भित्र पर्ने सीताराम गुफा, वाल्मिकी आश्रम र परशुराम कुण्डलगायतका पुरातात्विक स्थानहरुलाई पनि संरक्षण र सम्बर्धनका लागि पनि विज्ञहरुसँग आवश्यक छलफल गर्ने बताए।
‘राममन्दिर निमार्णका लागि बनाएको समिति छ। अब चाँडै समितिको बैठक बस्ने छ।’ नगरप्रमुख ढकालले भने, ‘प्रधानमन्त्रीज्यू कै निर्देशन अनुरुप हामीले मन्दिर निमार्णका लागि आवश्यक जग्गाको खोजि गर्ने छौं। अहिलेको अवस्थित जग्गा सामुदायिक वनमा परेको छ। प्रधानमन्त्रीज्यूले त्यसका लागि पनि मन्त्रालय र विभागहरुसँग आवश्यक परामर्श गरी सहजीकरण गरिदिने आश्वासन दिनु भएको छ।’
‘माडी नगरपालिकामा अवस्थित अयोध्यापुरीमा राममन्दिर बनाउन प्रधानमन्त्री आतुर हुनुहुन्छ’, नगरपालिकाका प्रवक्ता शिवहरी सुवेदीले भने, ‘उहाँले हामीलाई जतिसक्दो चाँडो योजना बनाउनुहोस भन्नु भएको छ। हामी त्यो अनुसार चाडैँ छलफलमा जुट्दै छौं।’
अयोध्यापुरीलाई आवश्य पर्ने जग्गाका बारेमा पनि प्रधानमन्त्रीले वन मन्त्रालय र चितवन राष्ट्रिय निकुञ्जसँग आवश्यक समन्वय गरिदिने आश्वासन दिएको प्रवक्ता सुवेदीले जानकारी दिए।
उनले भने, ‘प्रधानमन्त्री ज्यूले राममन्दिर निर्माण र्गन आवश्यक जग्गाको लागि सम्बन्धित मन्त्रालय, राष्ट्रिय निकुञ्ज र सरोकारवालासँग समन्वय र सहजिकरण गरिदिने विशवास दिलाउनु भएको छ।’
गत असार २९ गते रामायणका नेपाली अनुवादक आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तिका अवसरमा प्रधानमन्त्री ओलीले भारतले नक्कली अयोध्या खडा गरी नेपाली संस्कृतिमाथि धावा बोलेको अभिव्यक्ति दिएका थिए। उनको यो अभिव्यक्तिपछि नेपालमा तरंग आएको छ। |
अवैध कपडा बरामद कञ्चनपुर । सशस्त्र प्रहरीले भारतबाट अवैधरूपमा ल्याउँदै गरेको रु दुई लाख मूल्य बराबरको कपडा कञ्चनपुरको पुनर्वास नगरपालिका–४ बाट शनिबार बरामद गरेको छ । सशस्त्र प्रहरीले भारतीय बजार बसहीबाट अवैधरूपमा ल्याउँदै गरेको कपडा अमताल नजिकको जमुनाघारीबाट बरामद गरेको हो ।
सशस्त्र प्रहरी बल बिओपी आनन्द बजारका सशस्त्र प्रहरी निरीक्षक जगदीश विष्टले दुई साइकलमा राजश्व छलेर भारतबाट ल्याउँदै गरेको अवस्थामा कपडा बरामद गरिएको बताए। सशस्त्र प्रहरीको टोली देखेपछि तस्करहरु भने साइकलसहित कपडा छाडेर फरार भएका छन् । यसअघि पनि सशस्त्र र जनपद प्रहरीले अवैध समान बरामद गर्दै आएको छ । बरामद कपडा भन्सार कार्यालय गड्डाचौकीमा बुझाइने बताइएको छ । |
सामूहिक बलात्कारका फररा आरोपी पक्राउ नुवाकोट। नुवाकोटको शिवपुरी गाउँपालिकामा गत चैतमा पाँच जनाको समूहमा आई एक महिलालाई बलात्कारपश्चात् चोरी गरी फरार रहेका आरोपितलाई नुवाकोट प्रहरीले पक्राउ गरेको छ ।
शिवपुरी गाउँपालिका–५ स्थित कुखुरे घर भएका ३७ वर्षीया एक महिलालाई गत वर्ष ०७६ चैत २ गते आफ्नै घरमा सुतिरहेका अवस्थामा चारपाँच जनाको समूहले जबर्जस्ती करणी गरी दराजभित्र रहेको नगद र मोबाइल फोन चोरी तथा डाँका गरी फरार रहेकामा नुवाकोट प्रहरीले धमाधम पक्राउ गरिरहेको छ ।
घटनापश्चात् फरार प्रतिवादीले हतारमा आफूले बोकेको मोबाइल फोन घटनास्थलमा छाडी फरार रहेको हुँदा कलडिटेल्स तथा कलवाइज टावर लोकेशन हेर्दा मोबाइल फोन प्रयोगकर्ता शिवपुरी गाउँपालिका–५ का २५ वर्षीय उमेश तामाङ रहेको र सोही फोनबाट अरु प्रतिवादीलाई समेत पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुहरि फुयाँलले जानकारी दिए।
प्रहरी निरीक्षक फुयाँलका अनुसार घटनामा संलग्न प्रतिवादी उमेशसहित दुप्चेश्वर गाउँपालिका–५ का ३५ वर्षीय सानोकान्छा तामाङलाई काठमाडौँको सिआइबीसमेतको संयुक्त टोलीले खोजी गरिरहेको थियो । प्रहरी निरीक्षक फुयाँलका अनुसार पक्राउ पर्नेमा शिवपुरी गाउँपालिका–५ का ३५ वर्षीय रमेश तामाङ र लिखु गाउँपालिका– २ का ३६ वर्षीय भूपेश घलेलाई आज जबर्जस्ती करणी तथा डाँकासम्बन्धी कसुर मुद्दाअन्तर्गत अनुसन्धानपश्चात् जिल्ला अदालतमा थप अनुसन्धानका लागि पठाइएको छ । घटनामा संलग्न पाँच फरार प्रतिवादीमध्ये चार जनालाई नुवाकोट प्रहरीले पक्राउ गरी अनुसन्धानका दायरामा ल्याएको छ । |
लेबनानमा भएको विस्फोटमा १३५ को मृत्यु बेरुत । लेबनानको राजधानी बेरुतको प्रमुख बन्दरगाहमा मंगलबार भएको शक्तिशाली विस्फोटमा परी ज्यान गुमाउनेको संख्या १३५ पुगेको छ ।
करिब २ हजार ७५० टन ‘एमोनियम नाइटे«ट’ नामक रासायनिक पदार्थ भण्डारण गरेको एक गोदाम घरमा भएको यस विस्फोटमा परी चार हजार भन्दा बढी घाइते भएका बताइएको छ । यस गोदाममा सन् २०१४ मा एक कार्गो जहाजबाट बरामद गरिएको ‘एमोनियम नाइट्रेट’ भण्डारण गरिएको थियो ।
लेबनानका गृहमन्त्री मोहम्मद फाहमीले सो गोदाममा एमोनियम नाइट्रेट राखिएकाले त्यो विस्फोट शक्तिशाली हुन पुगेको र यसले ठूलो क्षति पुर्याएको बताएका थिए। लेबनानका प्रधानमन्त्री हासान डीयाबले यस विस्फोटलाई देशको ठूलो विपत्ति हो भनेका थिए । उनले यस विषयको अनुसन्धान शुरु भइसकेको र दोषीहरूलाई जबाफदेही बनाइनुपर्ने बताएका छन् ।
गोदाममा राखिएको एमोनियम नाइट्रेटको अवस्था बारेमा जाँचबुझ गरी पाँच महिना अघि नै लेबनान सरकारलाई प्रतिबेदन बुझाइएको पनि संचार माध्यमहरुले जनाएका छन् । प्रतिबेदनमा एमोनियम नाइट्रेटको भण्डारमा सुरक्षा सतर्कता अति जरुरी रहेको औंल्याइएको थियो । |
अझै पाएनन् निजी क्षेत्रले पिसिआर परीक्षणको अनुमति चितवन । मेडिकल सिटीका रुपमा परिचित चितवनमा निजी खर्चमा पिसिआर परीक्षणको व्यवस्था हुन सकेको छैन। यहाँस्थित भरतपुर अस्पताल र चितवन मेडिकल कलेजसँग पिसिआर जाँच गर्ने प्रयोगशाला रहेका छन्।
भरतपुर अस्पतालले सञ्चालन गरेको कोभिड–१९ प्रयोगशालामा मात्र स्वास्थ्य मन्त्रालयको निर्देशिकाअनुसारको परीक्षण भइरहेको छ । निजी खर्चमा परीक्षण गर्न चाहनेलाई सो प्रयोगशालामा सुविधा छैन । चितवन मेडिकल कलेजको प्रयोगशालाले भने हालसम्म अनुमति पाएको छैन।
जिल्लामा परीक्षण गर्न चाहनेको सङ्ख्या बढ्दो रहेको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारी पैसा तिरेर परीक्षण गर्न चाहना राख्नेको सङ्ख्या निकै भएको बताए। उनले भने, “दैनिक धेरै फोन त्यसै विषयलाई सोध्नेको आउने गर्दछ ।” सर्वसाधारणलाई बुझाउनै कठिन हुने गरेको उनले जानकारी दिए।
यहाँका प्रयोगशालालाई निजी खर्चमा परीक्षण गर्न दिएमा सहज हुने बताइएको छ । चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिशचन्द्र न्यौपाने आफुहरुले पाँच करोड ४० लाख खर्च गरेर प्रयोगशाला निर्माण गरे पनि स्वास्थ्य मन्त्रालयले अनुमति नदिएको बताए। प्रयोगशालाका लागि आवश्यक सबै तयारी गरिएको छ । उनले भने, “परीक्षणका लागि दैनिक ५० हाराहारी टेलिफोन आउँछन् ।” अनुमतिको पर्खाइमा कलेज रहेको छ।
भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले आफुलाई पनि स्वास्थ्य मन्त्रालयको निर्देशिका बाहिरका व्यक्तिले परीक्षणका लागि निकै सोध्ने गरेको जानकारी दिए । उनले भने, “म आज काठमाडौँ जाँदै छु । यस विषयमा मन्त्रालयमा कुरा राख्ने छु।”
भरतपुर अस्पतालमा दैनिक पिसिआर परीक्षणका लागि सर्वसाधारण आउने गरेका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका प्रमुख डा लुना झाले भरतपुर अस्पतालले हालसम्म रकम तिरेर परीक्षणका लागि माग नगरेको बताए।
त्यसैगरी, चितवन मेडिकल कलेजले हाल माग गरेकाले समय मिलाएर प्रयोगशालाको निरीक्षण गरी मापदण्ड पुगेको पाइएमा अनुमति दिइने उनले जानकारी दिए।
स्वास्थ्य मन्त्रालयको यही साउन १४ गतेको निर्देशिकाले रुघाखोकी, स्वासप्रस्वासमा समस्या भएका, गन्ध थाहा नपाउने र पखाला लागेकालाई पिसिआर परीक्षण गर्ने उल्लेख छ। त्यसैगरी, सङ्क्रमितसँग प्रत्यक्ष भेटघाट भएका, अरु कारण पत्ता नलागेका ज्वरोका बिरामी, सङ्क्रमितसँग प्रत्यक्षरुपमा काम गर्ने स्वास्थ्यकर्मी र कर्मचारीको परीक्षण गर्ने निर्देशिकामा उल्लेख छ। यसैगरी, १४ दिनभित्र सङ्क्रमण फैलिएको क्षेत्रबाट आएका, सघन उपचार कक्षमा उपचार गराइरहेका, प्रतीरक्षा क्षमता कमजोर भएका, ६० वर्ष नाघेका, शल्यक्रिया गर्न तयारी अवस्थामा रहेकाको परीक्षण गर्ने मन्त्रालयको निर्देशिकामा उल्लेख छ।
कोरोना सङ्क्रमण भई १४ दिन काटेका तर लक्षण भएकालाई पनि परीक्षण गर्ने गरिएको छ । त्यसबाहेकका व्यक्तिले रकम तिरेर पनि यहाँ परीक्षण गर्ने अवसर नपाएका हुन् । सरकारले राजधानीसहित विभिन्न जिल्लामा रकम तिरेर परीक्षण गर्न चाहनेका लागि अवसर दिएको भए पनि यहाँ दुवै प्रयोगशालाले त्यस अवसर नपाउँदा सर्वसाधारण प्रभावित भएका हुन् । भरतपुर अस्पतालको प्रयोगशालाले निर्देशिकाअनुसारका व्यक्तिको दैनिक १५० हाराहारी परीक्षण गर्दै आएको छ । यस प्रयोगशालाले चितवनसहित १० जिल्लाका नमूना परीक्षण गर्दै आएको छ । हालसम्म जिल्लामा कोरोना सङ्क्रमण भएकाको सङ्ख्या ११६ पुगेको छ। रासस |
उपत्यकामा थप ६२ जनामा कोरोना संक्रमण काठमाडौं । बुधबार काठमाडौं उपत्यकामा ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उपत्यकाका तीन जिल्लामा थप ६२ जनामा कोरोना संक्रमण देखिएको प्रवक्ता डा. जोगेश्वर गौतमले जानकारी दिए।
मन्त्रालयका अनुसार काठमाडौंमा ५७ जना र ललितपुरमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितको ठेगाना भने खुलाइएको छैन । उपत्यकामा मंगलबार पनि ६२ जना संक्रमित भेटिएका थिए। |
ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु पर्वत । जिल्लाको मोदी गाउँपालिका–६ तिलाहारस्थित रातमाटामा ट्र्याक्टर दुर्घटना हुँदा सोही ट्र्याक्टरका सहचालकको घटनास्थलमै मृत्यु भएको छ।
मृत्यु हुनेमा मोदी गाउँपालिका–५ बाजुङका २१ वर्षीय विजय नेपाली रहेका छन्। मोदी गाउँपालिका–७ राम्जा देउरालीबाट वडा नं २ देउपुरतर्फ आउँदै गरेको ग१त ६२७९ नम्बरको खाली ट्र्याक्टर मङ्गलवार राति १०ः३० बजे अचानक सडकबाट तल खस्दा नेपालीको मृत्यु भएको हो ।
अन्दाजी १२ मिटर तल खसेको ट्र्याक्टरले किचेर नेपालीको घटनास्थमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनालगत्तै जिल्ला प्रहरी कार्यालय पर्वतबाट गएको टोलीले ट्र्याक्टरका चालक मोदी गाउँपालिका–२ का सन्तोष विकलाई नियन्त्रणमा लिई थप अनुसान्धान भइरहेको प्रहरीले जनाएको छ। कच्ची भिरालो बाटोमा तीव्र गतिमा गुडाएका कारण दुर्घटना भएको हुन सक्ने अनुमान प्रहरीको छ । |
भारतबाट स्रोत नखुलेको १६ लाख रुपैयाँ नेपाल आएका सोनार पक्राउ काठमाडौं। कपिलवस्तु जिल्लाको मायादेवी गाँउपालिका ४ स्थित सीमा ईलाकाबाट मंगलबार एपीएफ टोलीले श्रोत नखुलेको १६ लाख रुपैयाँसहित सोही गाँउपालिका १ बस्ने ३८ बर्षिय बिनोद सोनारलाई पक्राउ गरेको छ।
सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट चाकडचौडाबाट खटिएको एपीएफ टोलीले निज सोनारलाई उल्लेखित रुपैयाँसहित पक्राउ गरेको हो।
भारतबाट नेपालतर्फ आउँदै गरेका निज सोनारलाई एपीएफ टोलीले जाँच गर्दा उनको साथमा उक्त रुपैयाँ फेला परेको र निजले उक्त रुपैयाँको श्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको हो।
पक्राउ परेका सोनारलाई बरामद रुपैयाँसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ। |
मोटरसाइकलको ठक्करबाट मृत्यु बुटवल । बुटवल उपमहानगरपालिका –२ गढिटोलस्थित भित्री सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ। लु २१ प ३८१२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गढिटोल निवासी ४५ वर्षीय सुरेन्द्र केशरीको गए राति मृत्यु भएको हो।
उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको ५ नं प्रदेश प्रहरी कार्यालयका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए। |
पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गर्ने कमला प्रहरी फन्दामा काठमाडौं। पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा चितवनका गर्दीका बस्ने ४० वर्षीया कमला कुमारी थापालाई आइतबार प्रहरीले पक्राउ गरेको छ।
थापाले पोल्याण्ड पठाइदिन्छु भन्दै पीडितलाई विभिन्न प्रलोभनमा पारी विश्वास दिलाई नगद १७ लाख रुपैयाँ ठगी गरी फरार रहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय चितवनको समन्वयमा उनलाई चितवनबाट पक्राउ गरेको हो।
उनलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ। |
गाँजासहित युवा पक्राउ मोरङ । मोरङको कटहरी गाउँपालिकामा दुई युवालाई तीन केजी गाँजासहित प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार कटहरी गाउँपालिका –१ सिङगिया खोला नजिक वडा प्रहरी कार्यालय (ख) हाटखोलाबाट खटिएको प्रहरीले आइतबार जाँचको क्रममा को२५प ८०७४ नं को मोटरसाइकलमा सवार सुनसरी धरान १५ बस्ने ३४ वर्षीय आशिष राई र पछाडि बस्ने धरान–१६ का २२ वर्षीय सञ्जीव राईले बोकेको झोलामा उक्त गाँजा बरामद गरेको हो।
प्रहरीले मानिस, गाँजा र मोटरसाइकल नियन्त्रणमा लिई आवश्यक अनुसन्धान शुरु गरेको मोरङ प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताए। |
नक्कली दुई प्रहरी पक्राउ दाङ । जिल्ला प्रहरी कार्यालय दाङले दुईजना नक्कली प्रहरी पक्राउ गरेको छ। कार्यालयका प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–९ कर्मटुवा बस्ने ३० वर्षीय सुरोज नेपाली र सल्यान भलचौर निवासी ३० वर्षीय गोपाल मल्ल रहेका छन्।
नेपालीले आफू जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायब निरीक्षक ‘योगेन्द्र हमाल हुँ’ भन्दै घोराही १५ ट्राफिक चोकमा रहेको लुम्बिनी होटल र मालिका भ्याली भ्यू होटलमा गई होटल सञ्चालकलाई अभद्र व्यवहार गरेको तथा मासिकरुपमा रकम दिनुपर्छ भनी धम्क्याउँदै आएका प्रनाउ खड्काले बताए।
यसैगरी, मल्लले जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक हुँ भनी ट्राफिक चोकस्थित पाहुना गेष्ट हाउसमा निःशुल्क खाना खाने गरेको र होटल सञ्चालकलाई अभद्र व्यवहार गरेको भनी जाहेरी परेकाले पक्राउ गरिएको हो । उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ को कसुरमा मुद्दा दर्ता गरिएको छ । उनीहरुलाई जिल्ला प्रशासन कार्यालयबाट १० दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। |
खानेपानी मन्त्रालयको भौतिक प्रगति ८० प्रतिशत काठमाडौं । गत आर्थिक वर्षमा खानेपानी मन्त्रालयको समग्र भौतिक प्रगति ८० प्रतिशत पुगेको छ । मन्त्रालयअन्तर्गत १४ आयोजना सम्पन्न हुँदा एक लाख ९० हजार २९२ जनसङ्ख्या उच्च तथा मध्यमस्तरको खानेपानी सेवाबाट लाभान्वित भएका छन् । मन्त्रालय र मन्त्रालय मातहत रहेका विभिन्न निकायले आव २०७६/७७ मा गरेका भौतिक तथा वित्तीय प्रगतिबारे तेस्रो चौमासिक एवं वार्षिक समीक्षा बैठकमा सहसचिव अरुण सिंखडाले गत आवमा समग्र भौतिक प्रगति ७३ र वित्तीय प्रगति ७८ प्रतिशत रहेको बताए।
बैठकमा राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रतिनिधिसमेत सहभागी थिए । खानेपानी तथा ढल व्यवस्थापन विभागको खानेपानी विभागअन्तर्गत रहेका खानेपानी सेवा विस्तार तथा पुनस्र्थापना कार्यक्रमको भौतिक प्रगति ८७, खानेपानी गुणस्तर सुधार कार्यक्रमको प्रगति ८९, तेस्रो साना सहरी खानेपानी आयोजनाको प्रगति ७६ र सहलगानी खानेपानी तथा सरसफाइ आयोजनाको प्रगति ७३ प्रतिशत रहेको महानिर्देशक सुनिलकुमार दासले जानकारी दिए।
त्यसैगरी बैठकमा राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको भौतिक प्रगति ९२ दशमलव ८८ प्रतिशत रहेको बैठकमा जानकारी गराइयो । मेलम्ची आयोजनाले गएको आवको अवधिमा हेडवक्र्स डाइभर्सन सुरुङ सञ्चालन गरिएको र समग्र हेडवक्र्सको काम ७० प्रतिशत सकिएको जनाएको छ । आव २०७६/७७ मा ५४ वटा क्रमागत सहलगानीका आयोजनामध्ये ६ वटा सम्पन्न भई ४६ हजार ५३४ जनसङ्ख्या लाभान्वित भएका छन् । तेस्रो साना सहरी खानेपानी आयोजनाअन्तर्गत दुई आयोजना सम्पन्न भई ५० हजार ५७० लाभान्वित भएको र खानेपानी गुणस्तर सुधार कार्यक्रमअन्तर्गत निर्माणाधीन ६१ आयोजनामध्ये चारवटा सम्पन्न भई करीब ६१ हजार ७४३ जनसङ्ख्या लाभान्वित भएको जानकारी मन्त्रालयका सहसचिव सिंखडाले दिए ।
खानेपानीमन्त्री बीना मगरले सबै नागरिकमा खानेपानी र सरसफाइको पहुँच विस्तारको लक्ष्य पूरा गर्न अझै मिहिनेत गर्नुपर्ने बताइन् । यसका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारबीच समन्वय गर्नु जरुरी रहेको उनको भनाइ छ । खानेपानी तथा सरसफाइको क्षेत्रमा दीर्घकालीन ‘रोड म्याप’ तयार गरेर मन्त्रालय अघि बढेको उनले बताइन्। “गत आर्थिक वर्षमा हामीले महत्वपूर्ण उपलब्धिहरु हासिल ग¥यौँ”, उनले भनिन्, “यो चालू आर्थिक वर्ष हाम्रा लागि चुनौती र अवसरको हुनेछ ।”
राष्ट्रिय योजना आयोगका सदस्य डा दिलबहादुर गुरुङले पन्ध्रौँ योजनाका लक्ष्यहरु हासिल गर्ने दिशामा अघि बढ्न मन्त्रालयका कर्मचारी एवं विभागीय प्रमुखहरुलाई निर्देशन दिए । खानेपानी मन्त्रालयका सचिव माधव बेल्बासेले गत आवमा राम्रो उपलब्धि हासिल गरेको बताए । उनले सरकारले लिएको ‘एक घर, एक धारा’को नीतिलाई कार्यान्वयन गर्न कटिबद्ध भएर मन्त्रालय अघि बढेको स्पष्ट पारे । |
कुटपिट गरेर बाबुको हत्यापछि अपराध लुकाउन शव आर्यघाट पुर्याएपछि… काठमाडौं। शनिबार पशुपति आर्यघाटमा ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर ९ को थम्पीका ५१ वर्षीय रामकृष्ण नेपालीको शव जलाउने अन्तिम तयारी चलिरहेको थियो। कोरोना महामारीका कारण मलामीहरु धेरै थिएनन्। मात्र नजिकका आफ्न्तहरु थिए।
शव चितामा चढाउने तयारी भइरहेकै बेला एक्कासी प्रहरी पुग्यो। ललितपुर प्रहरीले शव जलाउन नदिएर शव कब्जामा लियो। किरिया बस्न तयार परेका रामकृष्णका छोरा सन्तोष नेपालीको हातमा हतकडी लगाइयो।
ललितपुर प्रहरी परिसर प्रमुख एसएसपी टेकप्रसाद राईले कुटपिट गरेर बाबुको हत्या गरेपछि शव जलाउन लागिएको भन्ने सूचनाका आधारमा शव कब्जामा लिइएको र सन्तोषलाई पक्राउ गरिएको जानकारी दिए। एसएसपी राईले डिसी नेपालसँग भने, ‘यो घटना १५ गतेको हो। ३१ वर्षीय छोरा सन्तोषले मादक पदार्थ सेवन गरेर ५१ वर्षीय बाबु रामकृष्णसँग झगडा गरेको बुझिएको छ।’ झगडाका क्रममा बाबुमाथि निकै गम्भीर कुटपिट भएको प्रहरीले जनाएको छ।
निकै चोट लागेपछि रामकृष्णलाई छोरा सन्तोषले उपचारका लागि पहिला पाटन अस्पताल पुर्याए। र नेपाली सेनामा रहेका आफ्ना दाईलाई बुबा रुखबाट लडेर गम्भीर घाइते भएको जानकारी दिए। बुबाको अवस्था गम्भीर रहेको थाहा पाएपछि उनले भाईलाई बुबाको उपचार छाउनीस्थित आर्मी अस्पतालमा गराउन भने। शनिबार बाबुलाई छाउनी अस्पतालले मृत घोषणा गरिदियो।
यसपछि सन्तोषले आफन्तहरुलाई खबर गरे र पशुपति आर्यघाटमा दाहासंस्कारका लागि शव लगे। पशुपति आर्यघाटमा दाहासंस्कार हुन लागेको गोदावरीका स्थानीयले थाहा पाएपछि प्रहरीलाई सूचना दिए। त्यसपछि प्रहरी एक्शनमा आयो। र शव कब्जामा लियो। छोरा सन्तोषलाई पक्राउ गर्यो।
जिल्ला अदालत ललितपुरबाट ६ दिनको म्यादसमेत लिइएको एसएसपी राईले जानकारी दिए। उनले शवको पोस्टमार्टमसमेत गरिएको जानकारी दिए। उनले प्रहरी घटनास्थलसम्म पुगेको र घटनास्थलको अवस्था हेर्दा कुटपिट भएको देखिएको बताए। |
सङ्क्रमण दर तीन प्रतिशतभन्दा कम नहुँदासम्म न्यूयोर्कका विद्यालय नखुल्ने न्यूयोर्क । अमेरिकाको न्यूयोर्क शहरमा सङ्क्रमण दर तीन प्रतिशतभन्दा कम नहुँदासम्म विद्यालयहरू पुनः सञ्चालनमा नल्याइने न्यूयोर्कका अधिकारीहरूले शनिबार बताएका छन् ।
“विद्यालयहरू सञ्चालनका लागि कुनै व्यक्तिगत निर्णयमा सम्भव नभएको र सङ्क्रमण दर अझै पनि धेरै रहेकाले जोखिममा विद्यालय खोल्न सकिँदैन,” न्यूयोर्कका नगर प्रमुख बिल डे ब्ल्यासियोले भने।
उनले भने, “कोभिड–१९ सङ्क्रमण दर निरन्तर सात दिनसम्म तीन प्रतिशतभन्दा कम नहुँदासम्म व्यक्तिगत निर्देशनका आधारमा विद्यालय खोल्न सकिँदैन ।”
शैक्षिक सत्र २०२०/०२१ को शैक्षिक क्यालेन्डरलाई विद्यालयहरू पूर्णरूपमा सञ्चालनमा आएपछि महानगरले विद्यालय सञ्चालकहरूसँगको सल्लाह अनुसार निक्र्योल गर्ने पनि उनले बताए । |
ट्याङ्करमा करेन्ट प्रवाह हुँदा एकको मृत्यु नेपालगञ्ज । नेपालगञ्जमा पार्किङमा राखिएको ट्याङ्करमा करेन्ट प्रवाह हुँदा एक जनाको मृत्यु भएको छ। नेपाल आयल निगम लिमिटेड, इन्धन डिपो नेपालगञ्जमा पेट्रोलियम पदार्थ ढुवानी गर्ने ना४ख २६५१ नंको ट्याङ्करमा सहचालकका रुपमा कार्यरत बारा जितपुर सिमरा नगरपालिका निवासी २२ वर्षीय राज थापामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष खड्काले जानकारी जानकारी दिए।
उनका अनुसार गएराति ८ः०० बजेतिर करेन्ट लागेर गम्भीर घाइते भएका थापामगरको शिक्षण अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो। ट्याङ्करको छतमा उभिएर विद्युत्को तार पन्छाउने क्रममा थापामगरलाई करेन्ट लागेको थियो। मृतकको शवपरीक्षणका लागि नेपालगञ्जस्थित भेरी अस्पतालमा राखिएको प्रहरी नायब उपरीक्षक खड्काले बताए।
नेपाल आयल निगम लिमिटेड, इन्धन डिपो नेपालगञ्जको ट्याङ्कर पार्किङस्थल सञ्चालनमा नआउँदा सडकमै ट्याङ्कर राख्ने गरिएको छ । नेपाल आयल निगम लिमिटेड, इन्धन डिपोका प्रबन्धक नवविनोद पोखरेलले बन्दाबन्दीका कारण पार्किङ निर्माणमा ढिलाइ भएको बताए। नेपाल आयल निगम लिमिटेड, इन्धन डिपोमा पेट्रोलियम पदार्थ ढुवानी गर्ने १५० ट्याङ्कर रहेका छन्।
कोरोना महामारीले सार्वजनिक सवारीसाधन सञ्चालन नभएका कारण पेट्रोलियम पदार्थ खपत कमी भएकाले अहिले धेरैजसो ट्याङ्कर पार्किङमा हुने हुँदा समस्या देखिएको प्रबन्धक पोखरेलले बताए।रासस |
पर्सामा कोरोना संक्रमितको शव व्यवस्थापनमा स्थानीयकाे अवरोध पछि झडप काठमाडौं। पर्सामा कोरोना संक्रमितको शव व्यवस्थापनमा स्थानीयले अवरोध गर्दा झडप भएको छ। गएराति संक्रमितको शव व्यवस्थापन गर्नेक्रममा स्थानीय नागरिकले अवरोध गरेपछि प्रहरीले हवाई फायर अश्रु ग्यास प्रहार गर्दा झडप भएको हो।
पर्सा प्रहरीका अनुसार एसपी गंगा पन्तसहित ७ प्रहरी जवानलाई ढुंगाले लाग्दा सामान्य घाईते भएका छन्। प्रहरीले हवाइ फायर गरेपछि स्थानीयहरु तितरवितर भएका थिए। जिल्ला प्रहरी कार्यालय पर्साकी प्रमुख एसपी गंगा पन्तका अनुसार वीरगञ्ज महानगरपालिका–३१ मिलनचोकमा स्थानीय र प्रहरीबीच झडप भएको थियो।
संक्रमितको शव व्यवस्थापन गर्न गाउँ नजिकैको जगंलमा जाँदा मिलन चोक, नौकाटोल र पसरामपुरका बासिन्दाले अवरोध गरेका थिए। शव व्यवस्थापनका लागि जंगल क्षेत्रमा जाने क्रममा नेपाल प्रहरी र नेपाली सेनाको टोलीलाई मिलन चोकमा स्थानीयले ढुंगा प्रहार गरेपछि स्थिति तनावग्रस्त बनेको थियो। |
हङकङ प्रशासनद्वारा स्थानीय निर्वाचन एक वर्ष पछि सार्ने निर्णय हङकङ । कोरोना भाइरसको महामारीको कारण देखाउँदै हङकङ प्रशासनले स्थानीय निर्वाचनलाई एक वर्ष पछि सार्ने निर्णय शुक्रबार गरेको छ ।
हङकङको उक्त निर्णयप्रति ‘प्रजातन्त्र पक्षरत’ हङकङवासीलाई भने आक्रोशित तुल्याएको छ । उनीहरूले निर्वाचनलाई पछि सार्ने निर्णय प्रतिपक्षीलाई कमजोर पार्ने अभिप्रायबाट आएको बताएका छन् ।
तर बेइजिङले हङकङको उक्त घोषणालाई स्वागत गर्दै निर्वाचनको स्थगनलाई महामारीका कारण लिइएको उचित निर्णय बताएको छ ।
कोरोनाभाइरस सङ्क्रमणको महामारीको कारण व्यवस्थापिका संसदको निर्वाचन एक वर्ष पछि सार्ने हङकङको निर्णयलाई चीनले ‘आवश्यक तथा उचित’ कदम भनेको छ ।
“यो एकदम आवश्यक, उचित र कानूनसम्मत निर्णय हो, चिनियाँ स्टेट काउन्सिल, हङकङ तथा मकाउमामिला कार्यालयले जारी संक्षिप्त विज्ञप्तिमा भनिएको छ । केन्द्र सरकारले निर्णयलाई पूर्णरूपमा बुझ्दछ र आवश्यक सहयोग गर्नेछ । |
खाडी जाने लोभमा दलालको विश्वास गर्दा भारतमा अलपत्र काठमाडौं। कुवेत, साउदी र ईराकमा राम्रो रोजगारीको अवसर छ भन्दै प्रलोभनमा पारी भारतमा लगेर ६ महिलालाई बन्धक बनाएको अभियोगमा २ जनालाई प्रहरी प्रधान कार्यालय मावन बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले मंगलबार पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा सुनसरी धरान उपमहानगरपालिका–११ बस्ने खोटाङ राबाबेसी गाउँपालिका–१ घर भएका ३९ वर्षीय पुष्प परियार र काठमाडौं महानगरपालिका–२ लाजिम्पाट बस्ने दाङ घोराही उपमहानगरपालिका–९ घर भएका ५६ वर्षीय प्रविन शबिन शाह रहेको प्रहरीले जनाएको छ।
उनीहरुले झापा, मोरङ र पर्बतबाट ६ जना महिलालाई प्रलोभनमा पारी २०७६ फागुन ३० गते नेपालगंज नाका हुँदै भारतको नयाँ दिल्ली पुर्याई एउटा घरमा बन्धक बनाएर शारीरिक तथा मानसिक यातना दिएका थिए। प्रहरीको मानव बेचविखन ब्यूरो र शान्ति पूनर्स्थापना केन्द्र नयाँ दिल्ली समेतको सहयोगमा महिलाहरुको उद्धार गरी २०७७ असार २१ गते काठमाडौं ल्याएर मनोपरामर्श पश्चात आफन्तको जिम्मा लगाएको उक्त व्यूरोले जनाएको छ।
साथै उक्त घटनामा संलग्न व्यक्तिहरुको खोजी गर्ने क्रममा व्यूरोबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। उनीहरू उपर थप अनुसन्धान भइरहेको उक्त व्यूरोले जनाएको छ। |
पाँच सय तालिबानी जेलमुक्त काबुल । अफगान राष्ट्रपति अस्रफ घानीले शुक्रबार पाँच सय तालिबानीलाई जेलमुक्त गर्न आदेश दिएका छन्। ईदका अवसरमा तीन दिने नयाँ युद्धबिराम शुरु भएसँगै राष्ट्रपतिले यस्तो आदेश दिएका हुन् ।
संयुक्तराज्य अमेरिकासँग गत फेब्रुअरीमा तालिबान समूहले गरेको सम्झौतामा उल्लेखित सबै पाँच हजार तालिवानी पछिल्लो पटक गरिएको रिहाईसँगै मुक्त भएका राष्ट्रपति घानीले जानकारी दिए। ईदका अवसरमा दिएको मन्तव्यमा राष्ट्रपति घानीले भने, “सदभाव प्रस्तुत गर्न र शान्ति वार्तालाई गति दिन हामी बाँकी ५०० तालिबानी लडाकूलाई ईदका अवसरमा रिहा गर्दैछौं ।”
अफगान सरकारले यसअघि नै चार हजार ६०० जना बन्दीलाई रिहाई गरिसकेको छ । तर ४०० जना निकै खतरनाक ठानिएका लडाकूहरुलाई मुक्त गर्न काबुल सरकार हिच्किचाइरहेको छ । तालिबान समूहले भने पछिल्लो पटक रिहाई हुन लागेका लडाकूहरु पहिलो सूचीमा नाम नभएका व्यक्ति रहेको बताएको छ ।
राष्ट्रपति घानीले गम्भीर अपराधको दोष लागेका ४०० तालिबानी लडाकूलाई रिहाईको निर्णय गर्ने अधिकार आफूसँग पनि नरहेको बताएका छन्। अफगानी ज्येष्ठ एवं प्रवुद्ध समूहको भेलाले मात्र उनीहरुको भाग्यको फैसला गर्न सक्ने राष्ट्रपतिले बताए।
राष्ट्रपतिको उक्त भनाईप्रति तालिबानले कुनै टिप्पणी गरेको छैन । फेब्रुअरीमा अमेरिका–तालिबानबीच भएको एक सम्झौतामा अफगान जेलमा बन्दी पाँच हजार तालिबान लडाकू एवं विद्रोहीका कब्जामा रहेका एक हजार सरकारी सैनिकलाई मुक्त गर्ने उल्लेख थियो ।
गएको बिहीबार तालिबानले आफ्नो कब्जामा रहेका सबै एक हजार सरकारी फौजलाई रिहाई गरिसकेको बताएका छन् । युद्धबन्दीहरुको आदानप्रदान नै शान्ति वार्ताका लागि पूर्वशर्तका रुपमा रहेको थियो । घानी र तालिबानले यसै साता ईद लगत्तै वार्ता शुरु गर्ने संकेत दिएका छन् । |
उपत्यकामा थप ३८ जनामा कोरोना पुष्टि काठमाडौं । शुक्रबार काठमाडौं उपत्यकामा थप ३८ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उपत्यकाका तीन जिल्लामा ३८ जनामा कोरोना पुष्टि भएको प्रवक्ता डा जागेश्वर गौतमले बताए ।
आज काठमाडौंमा मात्रै ३२ जनामा कोरोना संक्रमण देखिएको छ। यस्तै ललितपुरमा ५ जना र भक्तपुरमा १ जनामा गरी थप ३८ जनामा कोरोना पुष्टि भएको हो। संक्रमितको ठेगाना खुलाइएको छैन ।
बिहिबार उपत्याकामा ४५ जनामा कोरोना संक्रमण देखिएको थियो। आज देशभर २२४ जनामा कोरोना पुष्टि भएकाे छ। |
गूगल र फेसबुकले समाचार प्रयोग बापत भुक्तानी गर्नुपर्छ : अस्ट्रेलिया सरकार क्यानबेरा । अस्ट्रेलिया सरकारले अस्ट्रेलियाली संचार माध्यमका समाचार सामग्री प्रयोग गरेबापत भुक्तानीको व्यवस्था मिलाउन तीन महिनाभित्र मध्यस्थता गर्न गूगल र फेसबुकलाई आदेश दिएको छ ।
शुक्रबार सार्वजनिक गरिएको अनिवार्य आचार संहिताको मस्यौदामा व्यावसायिक मिडिया कम्पनीबाट उत्पादित समाचार सामग्रीको प्रयोग गरेबापत गूगल र फेसबुकले रकम तिर्नुपर्ने उल्लेख छ । विश्वका अन्य मुलुकले यस्तो प्रयोग गरेपनि असफल भएका छन्, तर अस्ट्रेलियाले आचार संहितामार्फत नै गूगल र फेसबुकलाई रकम भुक्तानीको व्यवस्था गराउन लागेको छ ।
गूगलले अस्ट्रेलिया सरकारले अघि सारेको मस्यौदा एकतर्फी रहेको र त्यसले डिजिटल अर्थतन्त्रका लागि बाधा सिर्जना गर्ने बताएको छ । अस्ट्रेलियाली अर्थमन्त्री जस फ्राइडेनबर्गले गूगल र फेसबुकलाई पहिलो चरणमा लक्षित गरिएको र अन्य डिजिटल प्लेटफर्ममा पनि यो नियम क्रमशः लागू गरिने जानकारी दिए ।
अस्ट्रेलियाका संचारगृहको आर्थिक अवस्थामा सुधार ल्याउन र कर्मचारी कटौतीको समस्या सुल्झाउन यसले थोरै भएपनि मद्दत गर्ने अस्ट्रेलियाली संचार माध्यमहरुले बताउँदै आएका छन् । अस्ट्रेलियाको प्रस्तावित मस्यौदामा अमेरिकी यी दुई कम्पनीले अस्ट्रेलियाली संचार माध्यमसँग रकमका बारेमा सम्झौता नगरे तीन महिनापछि सरकारले नै मध्यस्थकर्ता नियुक्त गरी काम थाल्ने बताइएको छ ।
उक्त मस्यौदामाथि सुझाव दिन अगस्ट २८ सम्मको समयावधि दिइएको छ । अर्थमन्त्री फ्राइडेनबर्गले भने, त्यसपछि उक्त मस्यौदालाई संसदमा पेश गरिने छ । प्रस्तावित मस्यौदामा नियम उल्लंघन गरेमा त्यस्ता प्लेटफर्मको वार्षिक कारोबारको १० प्रतिशतसम्म वा ७२ लाख अमेरिकी डलर जरिवाना गरिने उल्लेख छ । गूगल र फेसबुकका अस्ट्रेलियाली प्रतिनिधिहरुले सरकारले अघि सारेको प्रस्तावमाथि अध्ययन भइरहेको जनाएका छन् । |
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल : ‘डेडलाइन मिट’ गर्न मुश्किल कास्की । तोकिएको मितिभन्दा ६ महिनाअघि सम्पन्न गर्ने लक्ष्य राखिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कोभिड–१९ का कारणले प्रभावित बनेको छ। सन् २०२१ जुलाई १० को ‘डेडलाइन’ भन्दा अघि नै सम्पन्न गर्ने गरी विगत वर्षमा भौतिक प्रगति भए पनि यस वर्ष कोरोनाका कारणले काम प्रभावित भएपछि निर्धारित मितिभित्रमा सम्पन्न गर्ने नयाँ लक्ष्य राखिएको छ।
बन्दाबन्दीमा विमानस्थलको काम नरोकिए पनि पूर्ण जनशक्ति र क्षमताका साथ काम नहुँदा ६ महिनाअगावै काम सक्ने लक्ष्य हासिल हुन नसक्ने पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाले जनाएको छ। विगतमा ५०० हाराहारीमा नेपाली तथा चिनियाँ कामदार विमानस्थल निर्माणमा खटिने गरेकामा हाल चिनियाँ २४४ तथा नेपाली १०० मजदुरले मात्र काम गरिरहेका छन्।
आयोजनामा आउनुपर्ने २०० चिनियाँ कामदार हवाई उडान बन्द हुँदा आउन नसकेको र लामो समय निर्माण सामग्री सीमानाकामा रोकिएका कारणले समेत आयोजना प्रभावित भएको आयोजना प्रमुख विनेश मुनंकर्मीले बताए। “आयोजना छ महिना अघि सम्पन्न गर्ने योजनाअनुसार विगतमा लक्ष्यभन्दा बढी काम भएको थियो, यस वर्ष जनवरीदेखि नै काम प्रभावित बन्यो । उनले भने, “कोभिडले छ महिना असर गरिसक्यो, अझ एक÷दुई महिना गर्ने देखिएको छ, तर अहिलेसम्मको कामको सेडुअलअनुसार तोकिएकै समयभित्र सम्पन्न गर्न सक्छौँ ।”
आयोजना सम्पन्न हुने मिति एक वर्ष बाँकी रहँदा ‘ल्याण्डसाइड’ र ‘विल्डिङतर्फ’को अधिकांश सिभिल तथा स्टक्चरको काम सम्पन्न भएको, उपकरण जडान र ‘फिनिसिङ’मात्र बाँकी रहेकाले समेत निर्धारित समयमै काम सकिने विश्वास लिइएको छ। भारतको कोलकतामा रोकिएका आयोजनाका सामग्री आइसकेको तथा विशेषज्ञ कामदारसमेत चीनबाट आउने तयारीमा रहेकाले दुई सिफ्टमा काम गर्ने योजना बनाइएको छ । उपकरण जडानले आयोजनाको थप २५ देखि ३० प्रतिशत भौतिक प्रगति ओगट्ने भएको र जडानमा बढी समय खर्चिनुनपर्ने भएकाले समेत आयोजना समयमै पूरा हुनेछ।
आयोजना प्रमुख मुनंकर्मीले भने,, “विशेषगरी इक्युपमेन्ट इन्सटलेसन र भवनको फिनिसिङको काम बाँकी छ, उपकरण आइसकेको छ, विशेषज्ञ कामदारसमेत भदौ १ पछि आउनेछन्, कोभिड–१९ नभएको भए अहिले ७२ देखि ७५ प्रतिशत लक्ष्य पूरा गर्ने थियौँ ।” कोरोनाका कारण घर गएका नेपाली कामदार बन्दाबन्दी अन्त्यसँगै पुनः काममा फर्किन चाहेका जनाइएको छ । निर्माण कम्पनी सिसीएमसीले पिसीआर परीक्षण नगरीकन आयोजनास्थलमा प्रवेश नदिने जनाएकाले प्रदेश तथा स्थानीय सरकारसँग परीक्षण व्यवस्था मिलाउन आग्रह गरिएको आयोजनाले जनाएको छ ।
करिव ६२ प्रतिशत काम सम्पन्न
चिनियाँ कम्पनी सिएएमसी इञ्जीनियरिङले विसं २०७४ असारदेखि विमानस्थलको काम शुरु गरेकामा हालसम्म आयोजनाको ६२ प्रतिशत काम सकिएको छ । रु २२ अर्ब लागतमा विमानस्थल निर्माणका लागि सन् २०१४ मा नेपाल नागरिक उड्डयन प्राधिकरण र सिएएमसीबीच ठेक्का सम्झौता भएको थियो । विमानस्थलका लागि चीनको एक्जिम बैंकले सहुलियत ऋण उपलब्ध गराएको छ ।
आयोजनाको ‘ल्याण्डसाइड’तर्फ दुई हजार ५०० मिटर लामो रनवे, ट्याक्सी वे, आइसोलेटेड पार्किङ, राजमार्गबाट टर्मिनल भवनसम्मको मुख्य सडक तथा अन्य पहुँचमार्ग (एस्सेस रोड), सिँचाइ नाला, पानी बाहिर पठाउने (आउटलेटिङ) तथा कल्भर्डको काम सकिएको छ । त्यसैगरी एयरसाइड र भवनतर्फ आन्तरिक तथा बाह्य टर्मिनल भवन, एटिसी टावरलगायतका विभिन्न १४ भवन, ह्याङ्गरलगायतको सिभिल संरचना र कङ्क्रिट संरचनाको काम सकिएर डेकोरेशन र फनिसिङको चरणमा रहेको आयोजनाले जनाएको छ ।
भवनमा उपकरण जडान गर्ने काम तत्कालै शुरु गरिने र विदेशी कामदार आएलगत्तै आयोजनाले थप गति लिने बताइन्छ । जडान कार्य चाँडो हुने भएकाले समेत आयोजनाको भौतिक प्रगति बढ्नेछ । ग्लाइडपाथ, इलेक्ट्रोमिटर, बोडिङ ब्रिजलगायतका उपकरण तथा डेकोरेशनका सामग्री चीनबाट आउन बाँकी छ । ती सामग्री दुई महिनापछि मात्र आयोजनास्थलमा आइपुग्नेछन् ।
इपिसि (इञ्जीनियरिङ प्रोक्योरमेन्ट र कन्स्ट्रक्शन) मोडलमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन अर्जनाइजेशन (आइकायो) को मापदण्डअनुसार ‘फोरडी’ मोडलमा विमानस्थल निर्माण भइरहेको हो । यहाँ बोइङ ७५७ र एयरबस–२१९ मोडलका ‘न्यारोबडी’ विमानको उडान तथा अवतरण हुनेछ । विमानस्थलका लागि साविक छिनेडाँडा हाल पोखरा महानगरपालिका–१४ मा विसं २०३२ मा पहिलोपटक तीन हजार १०६ रोपनी जमिन अधिग्रहण गरिएको थियो । त्यसपछि विभिन्न चरणमा ५२६, ६० र पछिल्लोपटक ९० रोपनी अधिग्रहण गरिएको छ । विमानस्थलले तीन हजार ८०० रोपनी क्षत्रेफल आगेटेको छ । पछिल्लोपटक गत चैत १० गते अवतरणका लागि विमानलाई नियन्त्रण गर्ने उपकरण ‘ग्लाइड पाथ’का लागि आवश्यक १०४ रोपनीमध्ये सरकारी १४ रोपनीबाहेक स्थानीयवासीको ९० रोपनी जमिन अधिग्रहणका लागि सूचना निकालिएकामा ६० जनाले मुआब्जाका लागि निवेदन दिएको आयोजनाले जनाएको छ । जमिन अधिग्रहणको चार दशकभन्दा बढी समयपछि विमानस्थल निर्माण प्रक्रिया शुरु भएको हो।रासस |
बीस दिनपछि मृतकको पहिचान खुल्यो काठमाडौं। सडक दुर्घटनामा गम्भीर घाइते भई उपचारका क्रममा मृत्यु हुनेको बीस दिनपछि पहिचान खुलेको छ।
मृत्यु हुनेमा काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका– ९ का ६० वर्षीय हर्कजित लामा रहेको छ। असार २१ गते बेलुका बौद्धमा गाडीले ठक्कर दिएपछि गम्भीर घाईते भएका लामाको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको थियो।
महानगरीय प्रहरी वृत बौद्धका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले भने, ‘ट्रमा सेन्टरमा २० दिनसम्म बेवारिसे अवस्थामा रहेको लामाको शवलाई उहाँकी श्रीमतीले प्रहरीको सम्पर्कमा आएर आज पहिचान गरेको हो।’ दुई महिनाअघि ज्याला मदजूरी गर्छु भनेर लामा काठमाडौँं हिँडेको परिवारले बताएको छ।
ठक्कर दिएर भागेको चालक र गाडीलाई महानगरीय प्रहरी वृत्त बौद्धले चार दिनपछि नियन्त्रणमा लिएको थियो। गाडी चालक १७ वर्षीय राजकुमार पुलामी मगर रहेको प्रहरीले जनाएको छ। गाडी चालकमाथि सवारी ज्यान मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। |
बंगलादेशी प्रधानमन्त्रीको व्यवहारले भारतमा खैलाबैला, मिडिया रिपोर्टले ल्यायो नयाँ तरंग ! काठमाडौं। बंगलादेशलाई आफ्नो नजिकको सहयोगी सम्झिने भारतको सम्बन्ध पछिल्लो समय बंगलादेशसँग पनि बिग्रिँदै गएको छ । अहिले भारतको सम्बनध छिमेकी देशहरु नेपाल, पाकिस्तान, चीन, बंगलादेश कसैसँग पनि राम्रो छैन । अघिल्लो वर्षसम्म भारतको सम्बन्ध नेपाल र बंगलादेशसँग सुमधुर थियो तर नेपालसँग सीमा अतिक्रमणको विषय र बंगलादेशसँग नागरिकता कानुनको विषयले सम्बन्ध बिग्रिएको छ ।
भारतले ल्याएको नयाँ नागरिकता कानुनका कारण रुष्ट भएको बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले भारतीय कूटनीतिज्ञलाई ‘बहिष्कार’ गरेको रिपोर्ट सार्वजनिक भएको छ । बंगलादेशको प्रमुख अखबार ‘भोरेर कागोज’का सम्पादक श्यामल दत्ताले लेखेको रिपोर्टमा बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले भारतीय राजदूतसँग भेट्न अस्वीकार गर्दै आइरहेको खुलासा गरेका छन् । रिपोर्टमा भारतीय राजदूतले निरन्तर भेट्न अनुरोध गरिरहेको तर प्रधानमन्त्री शेख हसिनाले विगत ४ महिनामा एक पटक पनि भेट्न नचाहेको खुलासा गरिएको छ ।
अर्कोतर्फ बंगलादेशले पाकिस्तान र चीनसँग सम्बन्ध बढाउँदै गएको रिपोर्टमा खुलासा गरिएको छ । चीनसँग भन्दा पनि पाकिस्तानसँग बंगलादेशको निकटताले भारतमा खैलाबैला भएको छ । किनकि पाकिस्तान र बंगलादेशको सम्बन्ध बिगार्ने र यी दुई देशलाई विभाजन गर्ने मुख्य कारक भारत नै हो । खासमा पहिले बंगलादेश र पाकिस्तान एउटै देश थिए । तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले गुप्तचर एजेन्सी रअको प्रयोग गरेर यी दुई देश विभाजन गराइदिएकी थिइन् । त्यसयता पाकिस्तान र बंगलादेशको सम्बन्ध कटु रहँदै आएको छ ।
रिपोर्टका अनुसार प्रधानमन्त्री शेख हसिना २०१९ मा सत्तामा आएपछि भारतीय परियोजनाको गति सुस्त भएको छ र चिनियाँ पूर्वाधार परियोजनालाई बढी समर्थन प्राप्त भएको छ । रिपोर्टमा लेखिएको छ ‘भारतको चिन्ताका बावजुद बंगलादेशले एक चिनियाँ कम्पनीलाई सिलेटमा विकानस्थल टर्मिनल बनाउने ठेक्का दिएको छ । भारतकी उच्चायुक्त रिभा गांगुली विगत ४ महिनादेखि प्रधानमन्त्री शेख हसिनालाई भेट्न प्रयास गरिरहेकी छिन् तर उनलाई अझैसम्म समय दिइएको छैन । बंगलादेशले कोरोना महामारीका क्रममा भारतले दिएको सहयोगप्रति धन्यवाद दिनको लागि कुनै पत्र पनि पठाएको छैन ।’
भारतको आपत्तिलाई बेवास्ता गर्दै बंगलादेशले बेइजिङ अर्बन कन्स्ट्रक्सन ग्रुपलाई सिलेटको ओस्मानिया विमानस्थलको टर्मिनल बनाउने ठेक्का दिएको छ । सिलेट भारतको उत्तर पूर्वी सीमा नजिकै भएकोले यो क्षेत्र भारतको लागि संवेदनशील छ । उता चीनले पनि बंगलादेशी उत्पादनमा कर छुट दिएको छ । चीनले बंगलादेशलाई कोरोना महामारीसँग जुध्न मेडिकल सहयोग पनि गरिरहेको छ । चीन र बंगलादेशको यो निकटता भारतको लागि चिन्ताको विषय बनेको छ किनकि बंगलादेश चीनको महत्वाकांक्षी बेल्ट एण्ड रोड परियोजनामा पनि सहभागी छ ।
उता पाकिस्तानसँग पनि बंगलादेशको निकटता बढ्दै गएको छ । कुनै समयका कट्टर दुश्मन देशबीचको यो निकटताले भारतलाई चिन्तामा पारेको छ । हालै पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बंगलादेश प्रधानमन्त्री शेख हसिनालाई फोन गरेका थिए । फोन वार्तामा के–के कुरा भयो भन्ने खुलासा नभए पनि यो वार्ता हुनु नै भारतमा तरंग ल्याउनको लागि पर्याप्त थियो ।
रिपोर्टका अनुसार शेख हसिनाको सरकारमा एक समूह चीनसँग सम्बन्ध बलियो बनाउन इच्छुक छ । विगत १० महिनामा पाकिस्तानसँग पनि सम्बन्ध सुमधुर बनाउने प्रयास भइरहेको छ किनकि पाकिस्तान चीनको सहयोगी हो । नोभेम्बर २०१९ मा प्याजको मूल्य उच्च भएर अभाव हुँदा भारतले निर्यातमा प्रतिबन्ध लगाएपछि बंगलादेशले पाकिस्तानबाट प्याज मगाएको थियो । बंगलादेशले पाकिस्तानबाट कुनै कृषि उत्पादन आयात गरेको यो १५ वर्षमा पहिलो पटक थियो । अर्कोतर्फ पछिल्लो समय भारत सरकारले ल्याएको नागरिकता कानुनका कारण भारत र बंगलादेशको सम्बन्ध बिग्रिएको छ । |
ट्रककाे ठक्करबाट युवतीकाे मृत्यु भएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध कैलाली । कैलालीमा ट्रकको ठक्करबाट एक युवतीको मृत्यु भएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ। कैलालीको बर्दगोरियास्थित बौनियामा सोमबार बिहान ट्रकको ठक्करबाट स्कुटरमा सवार युवतीको मृत्यु भएपछि स्थानीयवासीले राजमार्ग अवरुद्ध गरेका हुन्।
स्थानीयवासीको अवरोधपछि गन्तव्यका लागि हिँडेका सवारीसाधन बौनिया बजारमै रोकिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। बौनियामा सोमबार बिहान ना ६ख ३३४० नम्बरको ट्रकले से ६प ७१८१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक २६ वर्षीया सन्तोशी बोहोराको मृत्यु भएको थियो। ट्रक र चालक सूर्यराज चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। |
सुनको मूल्यमा नयाँ रेकर्ड काठमाडाैं। कोभिड–१९ को महामारीका कारण अन्तरराष्ट्रिय बजारमा अस्थिर रहेको सुनचाँदीको मूल्य स्थानीय बजारमा आज पनि अप्रत्यासितरुपमा बढेको छ।
गत शुक्रबार प्रतितोला रु ९५ हजार ८०० मा कारोवार भएको पहेंलो धातुमा आज रु ५०० ले वृद्धि भएको छ। आज बजार खुल्नेबित्तिकै छापावाल सुनको मूल्य प्रतितोला रु ९६ हजार ३०० कायम भएको छ भने सोही परिमाणको तेजाबी सुनको मूल्य रु ९५ हजार ८६० निर्धारण गरिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबारको तुलनामा चाँदीको मूल्यमा पनि रु पाँचले वृद्धि भएको छ। साउन १ गते एक तोला चाँदी रु एक हजार पाँचमा कारोवार भएकामा आज सोही परिमााणको सेतो धातुको मूल्य रु एक हजार १५५ तोकिएको छ।
कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन बन्दाबन्दी लागू गरिएयता जेठ २५ गते एक तोला सुनको मूल्य रु १० हजार ४०० ले बढेर रु ८७ हजार पुगेको थियो। त्यसयता सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ। |
हत्या आरोपमा पक्राउ झापा । जिल्लाको मेचीनगर–२ बाहुनडाँगीमा पसल सञ्चालन गर्दै आएका ५० वर्षीय कपडा व्यवसायी नारायण आचार्यको हत्या आरोपमा संलग्न एक युवा पक्राउ परेका छन्। आचार्यमाथि उनकै पसलमा शुक्रबार धारिलो हतियार प्रहार भएको थियो।
इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलका अनुसार शुक्रबार अपराह्न ४ बजेतिर भारी वर्षा भइरहेको अवस्थामा पसलमा बसिरहेका आचार्यमाथि धारिलो हतियार (दाउ) प्रहार गरी अभियुक्त भागेका थिए।
आक्रमणमा गम्भीर घाइते भएका आचार्यलाई विर्तामोडको बिएन्डसी हस्पिटल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको थियो । घटना भएको सूचना पाएलगत्तै प्रहरीले आक्रमणकारीलाई पक्राउ गरेको पोखरेलले बताए। घटनाको थप अनुसन्धान भइरहेको समेत उनले जानकारी दिए। |
लामखुट्टेले मानिसको रगत किन पिउँछ ? वैज्ञानिकले खोजे कारण काठमाडौं। लामखुट्टेले टोकेर मानिसको रगत चुसेको त हामीले देखेकै छौं । तर, लामखुट्टेले मानिसको रगत किन पिउँछ भन्नेबारे वैज्ञानिक रुपमा अहिलेसम्म कुनै तथ्य पत्ता लागेको थिएन । अहिले भने वैज्ञानिकहरुले यसको पछाडिको कारण खोजेका छन् । वैज्ञानिकहरुले यसको कारण खोज्ने क्रममा जे पत्ता लगाए त्यसले वैज्ञानिकहरु नै चकित परेका थिए । कारणले हामीलाई पनि आश्चर्यमा पार्छ ।
खासमा पृथ्वीमा प्राणीहरुको विकासक्रमको सुरुवातमा लामखुट्टेहरुले मानिस वा अन्य जनावरको रगत पिउँदैनथे । उनीहरुमा समयक्रमसँगै परिवर्तन आएर उनीहरुले रगत पिउन थालेका हुन् । लामखुट्टेहरु सुख्खा क्षेत्रमा रहने भएका कारण उनीहरुले प्राणीको रगत पिउन सुरु गरेका थिए । मौसम सुख्खा भएर लामखुट्टेहरुले प्रजननका लागि पानी नपाएको अवस्थामा उनीहरु मानिस वा अन्य प्राणीको रगत पिउँछन् किनकि लामखुट्टेलाई प्रजननको लागि चिसोपना आवश्यक पर्छ । भाले लामखुट्टेले प्राणीको रगत नचुस्ने र पोथीले मात्र चुस्ने कारण पनि यही हो ।
अमेरिकाको न्यूजर्सीस्थित प्रिन्सटन युनिभर्सिटीका वैज्ञानिकहरुले अफ्रिकाको एडिस एजिप्टी प्रजातिको लामखुट्टेको अध्ययन गरेका थिए । यी तिनै लामखुट्टे हुन् जसका कारण जीका भाइरस फैलिन्छ । यिनै लामखुट्टेकै कारण डेंगु र जण्डिस हुन्छ । न्यू साइन्टिस्ट म्यागजिनको अनलाइनमा प्रकाशित रिपोर्ट अनुसार अफ्रिकामा एडिस एजिप्टी लामखुट्टेका कैयौं प्रजाति छन् । सबै प्रजातिका लामखुट्टेले रगत पिउँदैनन् । यिनीहरु अन्य कुराहरु खाएर बाँच्छन् ।
प्रिन्सटन युनिभर्सिटीकी अनुसन्धानकर्ता नोआह रोज भन्छिन् ‘कसैले अहिलेसम्म लामखुट्टेका विभिन्न प्रजातिको खानपानको विषयमा अध्ययन गरेको छैन । हामीले अफ्रिकाको सब–साहारा क्षेत्रको २७ स्थानबाट एडिस एजिप्टी लामखुट्टेका अण्डा लियौं । अण्डाबाट लामखुट्टे निस्किन दियौं । त्यसपछि उनीहरुलाई मानिस, अन्य जीव, गिनीपिग जस्तामाथि ल्याबमा बन्द डिब्बाहरुमा छोडिदियौं ताकि उनीहरुको रगत पिउने प्याटर्न बुझ्न सकियोस् ।’
अध्ययनमा एडिस एजिप्टी लामखुट्टेका फरक–फरक प्रजातिहरुको खानपान निकै फरक पाइयो । नोआह भन्छिन् ‘यो कुरा एकदमै गलत प्रमाणित भयो कि सबै लामखुट्टेहरु रगत पिउँछन् । जुन क्षेत्रमा सुख्खा वा गर्मी हुन्छ, पानी कम हुन्छ त्यहाँ लामखुट्टेहरुलाई प्रजननको लागि चिसोपनाको आवश्यकता पर्छ । पानीको कमीको पूर्ति गर्न लामखुट्टेहरु मानिस वा अन्य जीवको रगत पिउन सुरु गर्छन् ।’
लामखुट्टेहरुमा यो परिवर्तन हजारौं वर्षमा आएको हो । एडिस एजिप्टी लामखुट्टेहरुमा खास कुरा यो थियो कि बढिरहेका शहरहरुका कारण उनीहरु पानीको अभावसँग जुध्न थाले । त्यसपछि मात्र उनीहरुलाई मानिसको रगत पिउने आवश्यकता पर्न थाल्यो । तर जहाँ मानिसहरु पानी जम्मा गरेर राख्छन् त्यहाँ एनोफिलिस लामखुट्टेहरुलाई कुनै समस्या हुँदेन । यिनीहरु आफ्नो प्रजनन कूलर, गमला, क्यारीजस्ता ठाउँमा गर्छन् । तर, जब पानीको कमी महसुस हुन्छ यिनीहरुले तत्कालै मानिस वा अन्य जीवहरुमाथि रगत पिउनको लागि आक्रमण गर्छन् । |
सीतापाइलामा युवतीमाथि एसिड प्रहार काठमाडौं। काठमाडौंको सीतापाइलामा एक युवतीमाथि एसिड प्रहार भएको छ। बिहीबार साँझ ती युवतीमाथि एसिड प्रहार भएको काठमाडौं प्रहरी परिसरका प्रवक्ताले जानकारी दिएका छन्। उनले युवतीलाई उपचारका लागि कीर्तिपुर अस्पतालमा लगिएको जानकारी दिए।
प्रहरीले एसिड प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको जनाएको छ। सयम्भु प्रहरी बिटका एक प्रहरी अधिकारीले आफू घटनास्थलमै रहेको र एसिड प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको डिसी नेपाललाई जानकारी दिए। |
स्रोत नखुलेको २० लाख नगदसहित एक पक्राउ लहान । सशस्त्र प्रहरीको टोलीले स्रोत नखुलेको २० लाख नगदसहित सिरहाका नगरपालिका १९ सोहरूवाबाट एक जनालाई पक्राउ गरेको छ। सीमा सुरक्षा बल लगदीगदियानीबाट खटिएको टोलीले सो रकमसहित जिल्लाकोे अर्नमा गाउँपालिका–४ लक्ष्मीपुर निवासी ३७ वर्षीय सुकदेव ठाकुरलाई पक्राउ गरेको सशस्त्र प्रहरी बल नम्बर ७ गण सिरहाका प्रहरी उपरीक्षक प्रवीण कँडेलले जानकारी दिए।
भारततर्फबाट आउँदै गरेका ठाकुरलाई शङ्का लागेर चेकजाँच गर्दा सो रकम भेटिएपछि नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक कँडेलले बताए। पक्राउ परेका ठाकुरलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालयमा बुझाइएको जनाएको छ। |
मास्क प्रयोग नगर्नेबाट रु एक लाख राजश्व कर्णाली । जिल्ला प्रशासन कार्यालय सुर्खेतले मास्क नलगाई हिँड्ने व्यक्तिलाई कारवाही गर्दा करीब रु एक लाख राजश्व सङ्कलन गरेको छ । कार्यालयले दुई साताका अवधिमा एक हजार ५९ जनालाई कारवाही गर्दा प्रतिव्यक्ति रु १०० का दरले रु एक लाख पाँच हजार ९०० राजश्व सङ्कलन गरेको हो ।
कोभिड १९– को सङ्क्रमण फैलिनबाट रोक्न गृह मन्त्रालयले असार २२ गते सबै जिप्रकालाई मास्क नलगाई बाहिर निस्कनेलाई रु १०० जरिवाना निर्देशन दिएको थियो । सरकारको निर्देशनानुसार प्रहरीले मास्क प्रयोग नगरी घर बाहिर निस्कनेबाट नगदी रसिद बुझाउँदै जरिवाना असूल गरेको हो । सुर्खेतका सहायक प्रजिअ भीमकान्त पौडेलले अटेरी गरी बाहिर निस्कनेलाई सङ्क्रामक रोग ऐन, २०२० बमोजिम कारवाहीस्वरुप जरिवाना तिराइएको बताए।
यसैबीच जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले समेत लकडाउन उल्लङ्घन गर्ने ५८३ सवारी साधन नियन्त्रणमा लिई सवारीधनीलाई कारवाही गरेको छ । त्यसबाट रु पाँच लाख ८९ हजार ५०० राजश्व सङ्कलन गरिएको कार्यालयले जनाएको छ । |
अपहरण भयो भनि नाटक, केटीसँग होटलबाट पक्राउ काठमाडौं। अपहरण भएको भनि नाटक गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ। साउन २ गते प्रहरीमा परेको निवेदका आधारमा खोजी गर्दा काठमाडौंको नयाँ वसपार्क स्थित एक होटलबाट केटी सहित पक्राउ गरेको हो।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका वडा नं. ४ चुनदेवीका वर्ष ३० का शक्तिराज रेग्मि रहेको प्रहरीले जनाएको छ। महानगरीय प्रहरी अपराध व्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक इश्वर कार्कीले दिएको जानकारी अनुसार अभियुक्त रेग्मीलाई प्रहरीलाई अनावश्यक हैरानी दिई राज्यको स्रोत साधनहरुको समेत दुरुपयोग भएको ठानी आवश्यक कारवाहीका लागि पक्राउ गरिएको हो।
रेग्मीले जग्गा व्यवसाय गर्छु भनि विभिन्न व्यक्तिहरुबाट करोडौं रुपयाँ लिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ। |
सर्पकाे टाेकाइबाट १ जनाकाे मृत्यु महोत्तरी । जिल्लाको भंगहा नगरपालिका –५ मा विषालु सर्पको डसाइबाट एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी ४५ वर्षीय शम्भु माझी सरदार रहेको छिमेकी आनन्द साहले बताए।
अपाङ्गता माझी गए राति आफ्नै घरमा सुतिरहेका बेला उनलाई विषालु सर्पले डसेको थियो। सर्पदंशित उनलाई बुधबार बिहान उपचारका लागि सिरहा जिल्लाको बन्दीपुर स्थित सर्पदंश उपचार केन्द्रमा लगिएकामा उपचारका क्रममा मृत्यु भएको छिमेकी साहले बताए। |
अमेरिका र चीनको द्वन्द्वमा टिकटक किन फस्यो ? बीबीसी । भाइरल नाच र हास्यमिश्रित अभिनयका कारण टिकटक युवा वर्गमा निकै लोकप्रिय बनेको छ। तर चीनसँग सम्बन्धित भएका कारण चिनियाँ राष्ट्रपति सी जिन्पिङ र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीच द्वन्द्व बढ्दा टिकटक दबावमा परेको नयाँ कम्पनी बनेको छ।
अमेरिका र अस्ट्रेलिया यो एपलाई प्रतिबन्ध लगाउन सकिने बताइरहेका छन् भने भारतले यसलाई प्रतिबन्ध लगाइसकेको छ। यूट्युबजस्तै टिकटक निस्शुल्क प्रयोग गर्न सकिने सेवाको एप हो।
प्रयोगकर्ताहरूले गीत र विशेष प्रभाव देखिने फिल्टरको ठूलो भण्डारबाट छानेका सुविधा प्रयोग गरेर एक मिनेटसम्म लामो भिडिओ राख्न सक्छन्। चलचित्रका सम्वाद र हास्यरसका भनाइहरूमा पनि प्रयोगकर्ताले अभिनय गर्न सक्छन्। एक प्रयोगकर्ताले १,००० फलोअर बनाएपछि प्रत्यक्ष भिडिओ पनि प्रसारण गर्न सक्छन्। प्रयोगकर्ताले डिजिटल उपहार पनि ग्रहण गर्न सक्छन् र त्यसलाई पैसासँग साट्न सक्छन्।
टिकटक सबैभन्दा धेरै डाउनलोड भएका १० देश। डाउनलोड सङ्ख्या दश लाखमा। गुगल प्लेस्टोर र एपल एपस्टोरको तथ्याङ्कमा आधारित अनुमानित सङ्ख्या। चीनको सङ्ख्या ठाउयीन एपको हो। एपले साथीका भिडिओहरू र पहिले हेरिएको भिडिओको आधारमा चर्चित नयाँ भिडिओ हेर्न सकिन्छ। प्रयोगकर्ताहरू बीच सन्देश आदानप्रदान गर्ने सुविधा पनि छ।
सन् २०१९ को सुरुदेखि टिकटक सबैभन्दा बढी डाउनलोड हुने एपहरूको सूचीमा नियमित परिरहेको छ। महामारीको लकडाउनका कारण यसका मानिसको आकर्षण ह्वात्तै बढेको छ।
अहिले यो एप अनुमानित दुई अर्ब पटक डाउनलोड गरिएको छ र यसका ८० करोड सक्रिय प्रयोगकर्ता छन्। यो एप सबैभन्दा बढी भारतमा डाउनलोड भएको थियो तर प्रतिबन्धका कारण अहिले चीन र अमेरिका यसको सबैभन्दा ठूलो बजार हो।
टिकटक तीन एपका साथ सुरु भएको थियो। पहिलो सन् २०१४ मा सुरु भएको अमेरिकी एप म्युजिकल्ली हो। सन् २०१६ मा चिनियाँ प्रविधि कम्पनी बाइटडान्सले चीनमा उस्तै प्रकारको ठाउयीन एप सुरु गर्यो।
बाइटडान्सले त्यसलाई संसारभर टिकटकको नाममा फैलायो। सन् २०१८ मा बाइटडान्सले म्युजिकल्लीलाई किन्यो र यसलाई टिकटकमा मिसायो। बाइटडान्सले चिनियाँ स्वामित्वबाट आफ्नो एपलाई पर राख्ने प्रयास गरेको छ। यसका लागि कम्पनीले टिकटको प्रमुख कार्यकारीको रूपमा डिज्नीको पूर्वकार्यकारी केभिन मायरलाई नियुक्त गरेको छ।
टिकटकले प्रयोगकर्ताको धेरै नै तथ्याङ्क सङ्कलन गर्छ। तीमध्ये केही यी हुन्:
यसका केही तथ्याङ्क सङ्कलनले आशङ्का उठाएको छ। त्योमध्ये एक भनेको यसले कपी-पेस्ट गरिएको सामग्री हो। तर त्यस्तै तथ्याङ्क रेडिट, लिङ्क्डइन, न्यूयोर्क टाइम्स र बीबीसी न्यूज एपले पनि सङ्कलन गर्छ।
टिकटकले फेसबुकजस्तै धेरै तथ्याङ्क सङ्कलन गर्छ। यूकेको गोपनियतासम्बन्धी काम गर्ने एक निकायले यो एपको अध्ययन गरिरहेको छ। अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले टिकटकले सङ्कलन गरेको तथ्याङ्क चिनियाँ कम्युनिस्ट पार्टीको हातमा पुग्ने आरोप लगाएका छन्।
टिकटकले तथ्याङ्क सङ्कलन चीन बाहिर हुने र बाहिरै भण्डार हुने पटक–पटक बताएको छ। ‘हामी चिनियाँ सरकारको औंलामा छौँ भन्ने कुरा पूर्ण रूपमा असत्य हो,’ टिकटकको युरोप, मध्यपूर्व र अफ्रिकाका लागि सार्वजनिक नीतिका प्रमुख थियो बेर्टरामले बीबीसीलाई बताएका थिए।
तर टिकटकविरुद्धको कुरा भनेको चिनियाँ सरकारले स्थानीय कानुन लगाएर बाइटडान्सलाई विदेशी प्रयोगकर्ताको तथ्याङ्क दिन बाध्य पार्न सक्छ भन्ने हो। सन् २०१७ को चीनको राष्ट्रिय सुरक्षा कानुनमा कुनै पनि संस्था वा व्यक्तिले राज्यको जासुसी कार्यकालागि सहयोग र सहकार्य गर्नुपर्ने व्यवस्था छ।
ब्रेटरामले चिनियाँ सरकारले मागेपनि आफूले नदिने बताएका थिए। तर बाइटडान्सले चिनियाँ सरकारलाई असन्तुष्ट पार्दा हुनसक्ने असरका बारेमा सोच्नपर्ने हुन सक्छ। बाइटडान्सको धेरै लोकप्रिय समाचार एप टौटिआओ सन् २०१७ मा चीनको इन्टरनेट सूचना कार्यालयले अश्लील सामग्री फैलाएको भनेपछि २४ घण्टाका लागि हटाइएको थियो।
अर्को चिन्ताको विषय सेन्सरशीप हो। चीन संसारको सबैभन्दा नियन्त्रित इन्टरनेट भएको स्थान हो र कुख्यात ग्रेट फायरवालले चिनियाँ नागरिकालागि थुप्रै सामग्री रोक्छ। गत वर्ष गार्डियन पत्रिकाले टिकटकका कर्मचारी र प्रविधिले राजनीतिक रूपमा सम्वेदनशील विषयहरूलाई सेन्सर गर्ने गरेको लेखेको थियो।
तियानानमेन स्क्वायरमा भएका विरोध र स्वतन्त्र तिब्बतको माग भएका सामग्रीहरू प्रतिबन्धित भएको बताइएको छ। टिकटकका छ जना पूर्वकर्मचारीसँगको कुराकानीको आधारमा वाशिङ्टन पोस्ट पत्रिकाले लेखेको समाचारमा चीनमा रहेका कर्मचारीले प्रतिबन्ध लगाउने कुराको अन्तिम निर्णय गर्ने बताइएको छ। बाइटडान्सले ती निर्देशिका अहिले लागु गर्न छोडिएको बताएको छ। |
पहिरोले पुरिएर काठमाडौंमा १ जनाको मृत्यु काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीमा पहिराले पुरिएर १ जनाको ज्यान गएको छ। गागलफेदीस्थित सातघट्टेमा खसेको पहिरामा पुरिएर २२ वर्षीय नवराज गुरुङको ज्यान गएको महानगरीय प्रहरी वृत बौद्धका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले जानकारी दिए।
कार्कीका अनुुसार, ‘आठ जना मध्ये मृतक गुरुङ शौच गर्न भनेर खोला छेउ जङ्गलमा गएका थिए’, त्यही बीचमा आएको पहिरामा परी आइतबार साँझ गुरुङको मृत्यु भएको हो। पहिरामा पुरिएका गुरुङको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ।रासस |
चीनका विषयमा नाटकीय रुपमा फेरियो ट्रम्पको बोली काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बोली नाटकीय रुपमा फेरिएको छ । विगत केही महिनायता चीनको चर्को आलोचना गर्दै आएका ट्रम्पले अचानक बोली फेरेर भारत र चीनको भलाइ र शान्ति कायम गर्नको लागि आफू जेसुकै गर्न तयार रहेको बताएका हुन् । उनले आफूले भारत र चीन दुवै देशका जनतालाई प्रेम गर्ने समेत बताए ।
पछिल्लो केही समययता भारत–र चीनबीच तनाव बढेपछि अमेरिका भारतको पक्षमा आएको थियो । विवादमा भारतको समर्थन गर्दै चीनप्रति आक्रामक रुपमा प्रस्तुत हुँदै आएका ट्रम्पको अचानक यु–टर्नलाई अर्थपूर्ण रुपमा हेरिएको छ । ह्वाइट हाउसका प्रेस सचिव कायले म्याक्कनीले प्रेस मिटमा बताएअनुसार राष्ट्रपति ट्रम्पले भनेका छन् कि म भारतका जनतासँग प्रेम गर्छु र चीनका जनतासँग पनि प्रेम गर्छु । ट्रम्पले भनेका छन् कि भारत र चीनको अमनको लागि म जे पनि गर्न तयार छु । |
ब्रिटिस आर्मी हुँ भन्दै महिला साथी बनाएर ठगी गर्ने पक्राउ काठमाडौं। ब्रिटिस आर्मी हुँ भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीइ प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनलाई कोटेश्वरबाट पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक सनकोशी गाउँपालिका–८, घर भएका दिपक मोक्तान भनिने ३३ वर्षिया दिपक लामालाई बुधबार दिउसो प्रहरीले पक्राउ गरेको हो।
सामाजिक संजाल फेसबुकमा दिपक मोक्तान नामको फेसबुक आईडीबाट आफू ब्रिटिस लाहुरे हुँ भनी विभिन्न आश्वासन दिँदै महिला साथी बनाएर रकम तथा सुनका गरगहना लिई सम्पर्क बिहीन भएको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले काठमाडौं कोटेश्वर चोकबाट उनलाई पक्राउ गरेको हो ।
धरान निवासी एक महिलाको सुनको सिक्री, सुनको औंठी तथा नगद ५ लाख रुपैयाँ लिई २ महिना अगाडि फरार भएका उनको साथबाट सुनको सिक्री, औंठी बरामद भएको उक्त परिसरले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । |
शाही र कार्की एआईजी पदमा बढुवा सिफारिस काठमाडौं। नयाव महानिरीक्षक (डीआईजी)हरु निरजबहादुर शाही र प्रद्युम्न कार्की प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिस भएका छन्।
बुधबार साँझ गृहमन्त्रालयमा बसेको बढुवा समितिको बैठकले डीआईजी शाही र कार्कीलाई बढुवा सिफारिस गरेको हो। बढुवा सिफारिस हुने प्रहरी महानीरिक्षक शैलेश थापाकै व्याची हुन् । एआईजी तारणी लम्सालको अवकाश र थापा आईजीपीमा बढुवा भएपछि रिक्त रहेको पदमा उनीहरुलाई बढुवा सिफारिस गरिएको हो।
हाल आईजीपी थापाको टोली २०४९ वैशाख १९ गते भर्ना भएका थिए। २०४९ सालमा तालिमपछिको मेरिटमा शैलेश थापा पहिलो नम्बरमा र हालका डीआईजी ईश्वरबाबु कार्की दोस्रो नम्बरमा थिए। त्यति बेला हालका एआईजी हरि पाल ११औं र शाही नवौं नम्बरमा थिए भने प्रद्युम्नकार्की पाँचौं नम्बरमा थिए। २०५८ सालमा डीएसपी बढुवा हुँदा राजेशलाल कर्णलाई एक नम्बर, थापालाई दोस्रो र सौरभ राणालाई तेस्रो, शाहीलाई चौथो र प्रद्युम्न कार्कीलाई पाँचौं नम्बरमा बढुवा गरियो।
त्यसैगरी २०६६ सालमा एसपी बढुवा गर्दा ईश्वरबाबु कार्की झन् पछि धकेलिए । त्यसबेला बानेश्वर वृत्तमा रहेका दिलीप चौधरीलाई आन्दोलनमा घाइते भएको भन्दै एक नम्बरमा बढुवा गरियो भने दोस्रो नम्बरमा कर्णलाई बढुवा गरिएको थियो। तेस्रोमा थापा, चौथोमा शाही, पाँचौंमा पाल र छैटौंमा प्रद्युम्न कार्कीलाई बढुवा गरिएको थियो। डीआइजी बढुवामा भने क्रमशः थापा, पाल, शाही र कार्की एकै पटक भएका थिए। |
बिग बास लिगको खेल तालिका सार्वजनिक काठमाडौं । क्रिकेट अष्ट्रेलियाले बुधवार देशकै प्रमुख टि २० प्रतियोगिता बिग बास लिगको खेल तालिका सार्वजनिक गरेको छ । तालिका अनुसार बीबीएलको पहिलो खेल एडिलेड स्ट्राइकर र मेलबोर्न रेनेगेड्स बीच एडिलेड ओभलमा ३ डिसेम्बर हुनेछ। प्रतियोगतामा कुल ६१ खेलहरु हुनेछन । बीबीएलको फाइनल अर्को वर्ष फेब्रुअरी ६ मा खेलिने छ। साथै महिला बीबीएल १७ अक्टुबर देखि २९ नोभेम्बर हुनेछ । महिला बीबीएलमा कुल ५९ खेलहरु हुनेछन ।
There’s more important things in the world than cricket right now, but here’s how we’d love to see the summer of BBL unfold. Stay safe and healthy everyone! #BBL10 pic.twitter.com/yE3tKuAEGp
— KFC Big Bash League (@BBL) July 15, 2020
|
बाढी–पहिरोबाट ३० लाख मानिस प्रभावित हुनसक्ने अनुमान काठमाडौं। बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपबाट ३० लाख मानिसहरु प्रभावित हुनसक्ने आकलन गरिएको छ। मनुसन शुरु भएपछि गृह मन्त्रालयअन्तर्गतको विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले गरेको एक अध्ययन अनुसार ३० लाख मानिसहरु प्रभावित हुनसक्ने जनाएको हो।
सरकारको अध्ययन अनुसार साउनमा सबैभन्दा बढी क्षति हुने आकलन गरिएको छ। गत वर्षहरुको तथ्यांक हेर्दा पनि साउन महिनामा बढी क्षति भएको देखाउँछ। यो वर्ष साउनको मध्यतिर पहाडी र तराई भेगमा डुवान हुने र भदौंको पहिलो सातादेखि बाढी–पहिरो कम हुने आकलन गरिएको छ।
यो वर्ष बाढी तथा डुवानका कारण १२ लाख ५० हजार, पहिरोका कारण २ लाख ५० हजार र पानीजन्य अन्य घट्नाबाट १५ लाख मानिस प्रभावित हुने अनुमान गरिएको छ।
उच्च पहाडी क्षेत्रमा पहिरो जाने तराइमा बाढी आउने र डुवान हुने भएकाले प्राधिकरणले सबैलाई सचेत रहन आग्रह गरेको छ। सरकारले जोखिम क्षेत्र पहिचान गरे पनि त्यस क्षेत्रका स्थानीयलाई अन्तै सार्ने, सूचना प्रवाह गर्ने र स्थानीय सरकारलाई यसतर्फ बढी चनाखो हुन आग्रह गर्नेजस्ता कार्य गर्न थालेको छ।
प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले विपद्जन्य घट्ना कम गर्नका लागि प्राधिकरण चौतर्फी ध्यान दिएको बताए। उनले केही दिनअघि सिन्धुपाल्चोकमा बाढी पहिरो जानुभन्दा तीन दिनअघि नै स्थानीयलाई सचेत रहन आग्रह गरेकाले कम क्षति भएको दावी गरे। ‘अहिले हामीले बाढी पहिरो सम्भावित क्षेत्रमा धेरै नै सूचना र जानकरी प्रवाह गरेका छौं ,’ उनले भने। कार्यकारी प्रमुखका अनुसार बाढी पहिरो शुरु भएयता सम्भावित क्षेत्रमा पच्चिस लाख मानिसहरुको मोबाइलमा पूर्व जानकारी दिन एसएमएस पठाइएको छ।
यसबाहेक स्थानीय भाषामा सूचना प्रशारण गरेको पोखरेलले जानकारी दिए। उनले प्राधिकरणको ७७ वटै जिल्लामा रहेका जिल्ला आपकालीन कार्य सञ्चालन केन्द्रलाई तयारीका साथ रहन आग्रह गरेको बताए।
यसैगरी बाढी पहिरोजन्य क्षतिलाई कम गर्नका लागि सरकारले १५ हजार तालिमप्राप्त सुरक्षाकर्मी परिचालन गरेको छ। प्राधिकरणसँगको समन्वयमा गृहले तीनवटै सुरक्षा निकाय नेपाली सेना, नेपाल प्रहरी र ससस्त्र प्रहरी परिचालन गरेको हो।
जसमा विपद् जोखिमको तालिम प्राप्त ३ हजार १ सय नेपाली सेना, ससस्त्र ३ हजार ५ सय ससस्त्र प्रहरी र ७ हजार ५ सयभन्दा बढी नेपाल प्रहरी परिचालन गरेको प्राधिकरणका कार्यकारी प्रमुख पोखरलले जानकारी दिए। उनले जोखिमको बेला परिचालन गर्नका लागि १२ वटा हेलिकोप्टर पनि तयारी अवस्थामा राखेको र आवश्यकता परेको बेला प्रयोग गरिने बताए । ‘हामीले सक्दो पूर्व तयारी गरेका छौं, राज्यका अन्य निकायले पनि त्यसमा साथ दिइरहेका छन्,’ उनले भने।
उनका अनुसार बाढी पहिरो तथा विपद् जन्य घट्ना उद्धारका लागि तालिमप्राप्त शसस्त्र प्रहरी र आवश्यकता अनुसार नेपाली सेना र प्रहरी पनि जोखिम क्षेत्रमा खटाइएको छ। गृहमन्त्रालयले स्थानीय युवाहरुलाई पनि जोखिम क्षेत्रमा खटिन आग्रह गरेको छ । |
लकडाउनमा घरभाडा छुट गर्ने घरधनी सम्मानित बन्दाबन्दी अवधिको घरभाडा मिनाहा तथा छुट गर्र्ने घरधनीलाई आज बुटवलमा बिशेष सम्मान गरिएको छ । कोरोना भाइरस सङ्क्रमणको सन्त्रासका कारण गरिएको बन्दाबन्दी समयमा घरभाडा मिनाहा तथा छुट दिने ६० मनकारी घरधनीलाई सम्मान गरिएको हो ।
बुटवल । लकडाउन अवधिभर व्यापारव्यवसाय ठप्प भएकाले भाडामा रहेका व्यवसायीलाई थोरै भए पनि राहत पुगोस् भन्ने उद्देश्यले १० प्रतिशतदेखि शतप्रतिशतसम्म घरबहाल मिनाहा तथा छुट गरेका घरधनीलाई सम्मान गरिएको नेपाल घरबहाल सरोकार सङ्घ रुपन्देहीका अध्यक्ष खगेन्द्र पौडेलले बताए ।
घरधनीलाई सम्मानपत्र प्रदान गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बुटवलमा घरबहाल कर १२ प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारिएको जानकारी दिए । |
राम जन्मभूमिबारे प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्र मन्त्रालयको प्रष्टिकरण काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार राम जन्मभूमिबारे दिएको अभिव्यक्तिले विवादको रुप लिन थालेपछि परराष्ट्रमन्त्रालयले यो विषयमा प्रष्टिकरण दिएको छ। मंगलबार साँझ विज्ञप्ति जारी गर्दै मन्त्रालयले प्रधानमन्त्री ओलीको टिप्पणी कुनै राजनीतिसँग सम्बन्धित नभएको र कसैको भावनामा चोट पुर्याउने उद्देश्यले नभएको बताएको छ।
मन्त्रालयले राम जन्मभूमिबारे चलिरहेको विभिन्न मिथकबारे पनि बहस हुनुपर्ने उद्देश्यले प्रधानमन्त्रीको भनाई आएको बताएको छ। प्रधानमन्त्री ओलीले सोमबार भानु जयन्तीका अवसरमा बालुवाटारमा आयोजित कार्यक्रममा भगवना रामको जन्म भारतको अयोध्यामा नभई वीरगञ्च पश्चिमको ठोरीमा भएको बताएका थिए। प्रधानमन्त्रीको यस्तो अभिव्यक्ति आएपछि नेपालमा र भारतमा पनि तिब्र प्रतिक्रिया आएपछि परराष्ट्रमन्त्रालयले प्रतिष्टकरण दिएको हो।
परराष्ट्रले रामको जन्म भारतमै भएको घुमाउरो ढंगले स्वीकार गर्दै नेपाल र भारतबीच भएको २०१८ मा प्रधानमन्त्री ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले जनकपुरमा रामायण सर्किट शिलान्यास गरेको स्मरण गराएको छ। साथै भारतबाट हरेक वर्ष विवाह पञ्चमीमा जनकपुरमा भारतीय जन्ती आउने परम्परा मनाउँदै आइएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
|
युवकको बगेर मृत्यु काठमाडौं । प्रहरीको निगरानीमा रहेका एक युवकको राप्ती नदी तर्दा बगेर मृत्यु भएको छ। प्युठान नगरपालिका–४,जुम्री बसपार्क नजीकको होटलमा झगडा गरी भागेका मल्लरानी गाउँपालिका–५, बेल्डाँडाका २७ वर्षीय दीपक थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए।
जुम्रीमा रहेको एक होटलमा झडपपछि गौमुखी गाउँपालिका–५, ठूलाबेंसीका ३१ वर्षीय वसन्त चन्द र थापा भागेको प्रनाउ कार्कीले बताए। थापाको मृत्युबारे थप अनुसन्धान भइरहेको छ।
पटक पटक विभिन्न मुद्दामा परेका चन्द र थापा झगडापछि आफूहरुलाई किटानी पर्न सक्ने भन्दै भागेको प्रहरीको अनुमान छ । होटलमा झगडा गरेको आरोपमा चन्द र भक्तबहादुर केसीविरुद्ध सार्वजनिकस्थलमा कुटपीट गरेको जाहेरी परेको थियो । केसी पक्राउ परिसकेको प्रहरीले जनाएको छ। |
यूकेमा २००० वर्षअघि ‘हत्या गरिएका’ एक मानिसको कङ्काल फेला बीबीसी । यूकेको बकिङ्हम्शरमा रेलमार्ग निर्माण भइरहेको स्थानमा फेला परेको एउटा अस्थिपञ्जर लौहयुगमा हत्या गरिएका एक व्यक्तिको हुनसक्ने पुरातत्त्वविद्हरूले बताएका छन्।
झन्डै २००० वर्ष पुरानो नरकङ्काल भुइँमा घोप्टिएको र दुवै हात ढाडतिर लगेर पछाडिपट्टि बाँधिएको अवस्थामा भेटिएको थियो। रेलमार्ग एचटुएस निर्माण आयोजनाकी पुरात्त्वविद् र्याशल वुडले ती वयस्क पुरुषको मृत्युलाई एउटा रहस्य को सङ्ज्ञा दिँदै थप विश्लेषणले कारण स्पष्ट हुनसक्ने बताइन्।
त्यहाँ प्राचीन स्टोनहेन्ज स्मारकको जस्तै काठको एउटा संरचना र रोमन शैलीको समाधि पनि फेला परेका छन्। उक्त स्थानमा रेलमार्गको निर्माणका क्रममा नवपाषाणयुगदेखि मध्ययुगसम्मका वस्तुहरू फेला परेका छन्। ‘मान्छेका ४,००० वर्ष पुराना गतिविधिहरू देखाउने स्थान फेला पर्दा हामी केही चकित छौँ,’ डा। वुडले भनिन्।
त्यहाँ भेटिएको नवपाषाणयुगमा निर्मित काठका थामहरूको गोलो घेराको व्यास ६५ मिटर छ । उक्त संरचना स्टोनहेन्जमा जस्तै हिउँदे अयनान्तसँग मिल्नेगरी बनेको छ। सो स्थानमा इसापूर्व ३००० देखि इस्वी संवत् ४३ सम्म मानिसहरूको बसोबास भएका विभिन्न प्रमाणहरू भेटिएको छ। |
सार्वजनिक यातायात सञ्चालनः गाडी सडकमा ल्याउने वातावरण बनाइदिन व्यवसायीको माग काठमाडौं। कोरोना महामारीका कारण देशभर लकडाउन गरिएपछि चैत ११ गतेबाट बन्द भएको सार्वजनिक यातायात सुचारु गर्ने विषयमा आइतबार यातायात व्यवसायी र भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङबीच छलफल भएको छ।
आइतबार मन्त्रालयमा भएको छलफलमा व्यवसायीहरुले गाडी सडकमा निकाल्ने वातावरण बने आफूहरु यातायात सञ्चालन गर्न तयार रहेको बताएका छन्।
लफलमा सहभागी यातायात राष्ट्रिय महासंघका महासचिब सरोज सिटौलाले मन्त्रीसँग आफ्ना समस्याहरु राखिएको बताए। उनले डिसी नेपालसँग भने, ‘मन्त्रीज्यू, यातायात मजदुर, हामी व्यवसायी र यातायात विभागका महानिर्देशकसहितको आज छलफल भयो। हामीले हाम्रा समस्याहरु राख्यौं। मन्त्रीज्यूले समस्या समाधान गरिने बताउनु भएको छ।’
ेउनका अनुसार व्यवसायीको मुख्य चिन्ताको विषय यातायात मजदुरको स्वास्थ्य र यात्रुको स्वास्थ्य हो। सिटौलाले भने, ‘मजदुरहरुको स्वास्थ्य र यात्रुको स्वास्थ्य कसरी सुरक्षित राख्ने भन्ने समझादारी भए हामी यातायात सुचारु गर्न तयार छौं।’ उनले हाल यातायात मजदुरहरु घरमा रहेकाले पनि यो समस्या भएको बताए। सरकारले गएको शुक्रबारदेखि नै सार्वजनिक यातायात शुरु गर्न भने पनि व्यवसायीहरुले सडकमा गाडी निकालेका छैनन्।
सिटौलाले डिसी नेपालसँग भने, ‘गाडी चलाउने कुरा त्यतिकै हुँदैन। प्राविधिक समस्या पनि छ। मजदुरहरु काठमाडौं आउने वातावरण बन्नु पर्यो। ग्यारेज सञ्चालनमा आउनु पर्यो।’
यातायात व्यवसायीका समस्या सुनेपछि मन्त्री नेम्वाङले सरकारले व्यवसायीका समस्या सामाधन गर्ने भन्दै यातायात अब सञ्चालन हुनुपर्ने बताएका थिए। सिटौलाले भने, ‘हाम्रो कुरा सुनेपछि मन्त्री ज्यूले समस्या बुझ्नु भएको छ। फेरि पनि छलफल गरेर निश्कर्ष निकाल्ने गरी आजको छलफल सकिएको छ।’
व्यवसायीले बाहिर स्वास्थ्य र प्राविधिक समस्या देखाए पनि यातायात व्यवसायीको मुख्य माग भाडा दर हो। सरकारले यात्रु क्षमताभन्दा ५० प्रतिशत कम यात्रु राखेरमात्र यातायात चलाउन भनेको छ। सरकारको यस्तो शर्तका कारण व्यवसायीहरु भाडा डबल बनाउने सोचमा छन्। |
रुपन्देहीमा बोलेरो दुर्घटना, एक जनाको मृत्यु बुटवल । रुपन्देहीको कञ्चन गाउँपालिकास्थित फायरलाइनमा बलेरो जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
स्थानीय हरैयाबजारबाट फायरलाइनतर्फ आउँदै गरेको बा१५च ९३८९ नंको बलेरो अनियन्त्रित भई सालको रुखमा ठोक्किएको इलाका प्रहरी कार्यालय रुद्रपुर रुपन्देहीले जनाएको छ।
सो दुर्घटनामा गम्भीर घाइते तिलोत्तमा नगरपालिका–११ बस्ने करिब ३८ वर्षीय सुरज खड्काको लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय रुद्रपुर रुपन्देहीका प्रहरी निरीक्षक इन्द्र चौधरीले जानकारी दिए।
शनिबार बेलुका भएको सो दुर्घटनामा चार घाइते भएका छन्। |
नेपालमा भारतीय न्यूज च्यानल प्रकरण : भारतमै भारतीय सञ्चारमाध्यमको विरोध काठमाडौं। नेपालले भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, कालापानी र लिपुलेकसमेत समेटिएको नेपालको नयाँ नक्सा जारी गरेपछि भारत सरकारले त्यसको प्रतिवाद गर्यो। तर, केही भारतीय सञ्चार माध्यमहरु भने नेपाल सरकार र नेपालका प्रधानमन्त्रीविरुद्ध दुष्प्रचार अभियानमा लागे। यसैक्रममा काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्छी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई जोडेर भारतीय न्यूज च्यानल जी न्यूज झारखण्ड बिहारले आपत्तिजनक भिडियो रिपोर्ट बनाएपछि आजित भएका नेपालीले अब भारतीय न्यूज च्यानल बन्द हुनुपर्ने आवाज उठाए। सो रिपोर्ट प्रशारण भएको तेस्रो दिन नै नेपालका केवल अपरेटरले स्वतःस्फुर्त रुपमा केही भारतीय न्यूज च्यानल नेपालमा बन्द गरिदिएका छन्।
नेपालमा भारतीय सञ्चार माध्यमविरुद्ध आक्रामक प्रतिक्रिया देखिएपछि भारतमा पनि यो विषयमा बसह भइरहेको छ। भारतीय सञ्चारकर्मीहरु नै नेपालमा भारतीय च्यानल बन्द हुनु स्वभाविक भएको बताउँछन्। बीबीसी हिन्दीसँग कुरा गर्दै इंडियन इंस्टिट्यूट अफ मास कम्युनिकेशनका प्रोफेसर आनंद प्रधान भन्छन्, ‘यसमा कुनै शंका छैन। भारतीय सञ्चार माध्यममा रिपोर्टिंगमा जो पत्रकारिताको जो आधारभुत सिद्धान्त हुन्छ त्यसको पालना हुँदैन। भएको छैन्। तपाईँको रिपोर्टिंग तथ्यमा आधारित हुनुपर्छ। तपाई काल्पानिक कथा भन्न सक्नु हुन्न। तपाई आफ्नो कुनै शो को लोकप्रियताा बढाउनका लागि कुनै कुटनीतिज्ञलाई प्रधानमन्त्रीसँग हनी ट्र्यापको कुरा कसरी भन्न सक्नुहुन्छ? निकै आपत्तिजनक कुरा हो।’
उनी भन्छन्, ‘खासमा समस्या के छ भने भारतीय सञ्चार माध्यमलाई लाग्छ नेपाल भारतको एक्स्टेन्शन हो। यिनीहरुले हालसम्म नेपाल एक सम्प्रभु देश भएको स्वीकार गर्न सकेका छैनन्। नेपाल आफ्नो विदेश नीति स्वतन्त्र रुपले चलाउन सक्छ। भारतीय सञ्चार माध्यमहरु उपनिवेशवादी मानसिकताबाट माथि उठ्नुपर्ने आवश्यकता छ। यदि यिनीहरुको रिपोर्टिंग यस्तै हुने हो भने दुई देशबीचको सम्बन्धमा जनताहरुबीचको सम्बन्धमा पनि नोक्सान हुनेछ।’
बीबीसी हिन्दीसँग कुरा गर्दै इंडिया टुडेका एक परिचत एंकरले नाम नबताउने शर्तमा भनेका छन्, ‘नेपाल–भारत विवादमा केही च्यानलहरुको रिपोर्टिंग बलिउड गसिप जस्तै छ। यदि तपाईँका प्रधानमन्त्रीको मर्यादा छ भने नेपालका पीएमको पनि त्यति नै मर्यादा हुन्छ। तपाई पत्रकार हुनुको अर्थ कसैको पनि मानमर्दन गर्नु होइन।’
भारतीय च्यानलबाट लागतार नेपाल विरोधी आपत्तिजनक समाचारहरु प्रशारण भएपछि नेपाल प्रेस काउन्सिलले धारतीय प्रेस काउन्सिललाई पत्र लेखेर यो विषयमा ध्यानाकर्षण गराइसकेको छ भने दिल्लीस्थित नेपाली दूतावासले पनि यो विषयमा आपत्ति प्रकट गरिसकेको छ। (बीबीसी हिन्दीको सहयोगमा) |
धनुषा र सर्लाही हुँदै फेरि सलह नेपाल आउन सक्ने प्रक्षेपण काठमाडौं। विनाषक किरा सलह फेरि नेपाल आउन सक्ने प्रक्षेपण गरिएको छ। कृषि विकास तथा पशुपंक्षी मन्त्रालय अन्तरगतको प्लान्ट क्वारेन्टिन एण्ड पेस्टिसाइड म्यानेजम्यानेन्ट सेन्टरले धनुषा, सर्लाही र सर्लाहीबाट सलह नेपाल आउने सक्ने सम्भावना रहेको जनाएको छ।
सेन्टरले शनिबार भारतको उत्तर प्रदेशको कानपुर र इटावाको बिचमा पर्ने औरैया आसपासका क्षेत्रमा रहेका २ वटा सलहका झुण्डहरु करिब १५० हेक्टर क्षेत्रफलमा फैलिएको जनाएको छ। यी झुण्डहरु हावाको बहावसँगै पूर्वतर्फ वाराणसी हुँदै मुजफ्फरपुर र दरभंगाको आसपासका क्षेत्र हुँदै धनुषा, महोत्तरी, सर्लाही क्षेत्रबाट नेपालतर्फ समेत प्रवेश गर्न सक्ने सेन्टरले जनाएको छ।
यसैगरी राजस्थानका विभिन्न स्थानमा ठूलो संख्यामा रहेका झूण्डहरुपनि दक्षिण पश्चिमी वायुसंगै नयाँदिल्ली आसपासका क्षेत्रहुँदै उत्तर प्रदेशका मुरादावाद, बरेली तथा शाहजहाँपुर तर्फ अगाडि बढ्न सक्ने पूर्वानुमान रहेको छ। यी सलहका झुण्ड पनि नेपाल आउन सक्ने सेन्टरले अनुमान गरेको छ।
पानी परेको बेला तथा रातिको समयमा स्थानान्तरण नगर्ने भएता पनि उक्त झुण्डहरु धनुषा, महोत्तरी तथा सर्लाही र आसपासका क्षेत्रमा १ देखि २ दिनमा र सुदुर पश्चिम प्रदेशमा दक्षिण तथा पश्चिमबाट तथा प्रदेश नं ५ का दक्षिण पश्चिमका भूभागहरुबाट २ देखि ३ दिनमा नेपालभित्र प्रवेश गर्न सक्ने सम्भावना रहेको सेन्टरले जनाएको छ।
यसअघि सलहले नेपालका करिब ५५ जिल्लामा लगाइएको खेतिबालीमा क्षति गरेको थियो। अघिल्लो हप्ता नेपालमा सक्रिय रहेको सलह प्रतिकुल मौसमका कारण मरेपछि हाल नेपालमा सक्रिय सलह नरहेको सेन्टरले जनाएको छ। अघिल्लो पटक आएको सलहले मकैबालीमा धेरै क्षति गरे पनि क्षतिको यकिन विवरण भने हालसम्म प्राप्त भइनसकेको सेन्टरका प्रवक्ता रामकृष्ण सुबेदीले जानकारी दिए। |
रुपन्देहीमा आइतबारदेखि एसी बस सञ्चालन गर्ने तयारी रुपन्देही । कोरोनाको रोकथाम र नियन्त्रणका लागि गरिएको बन्दाबन्दीका कारण लामो समयसम्म थन्किएका लुम्बिनी मेट्रो सिटी प्रालिका एसी सुविधासहितका बस आइतबारदेखि सञ्चालनको तयारी गरिएको छ । गृह मन्त्रालयले छोटो दूरीका यातायात सञ्चालन गर्न अनुमति दिएपछि प्रालिले सुरक्षा सतर्कता अपनाएर सवारी साधन सञ्चालन गर्न लागेको हो ।
प्रदेश नं ५ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सङ्घीय भौतिक पूर्वाधार तथा विकास मन्त्रालयसँग समन्वय गरी आइतबार अपराह्नदेखि बस सञ्चालनमा ल्याइने प्रालिका अध्यक्ष धनबहादुर अधिकारीले जानकारी दिए । बसमा यात्रु चढाउनुअघि थर्मल गनबाट ज्वरो मापन, मास्क र स्यानिटाइजरको प्रयोग, बसभित्र भौतिक दूरी कायम गरिनेलगायत मन्त्रालयले जारी गरेको सबै मापदण्ड पूूरा गरी सुरक्षित तरिकाले यातायात सञ्चालन गरिने प्रालिले जनाएको छ । |
ट्रम्पले आफ्ना पूर्व सल्लाहकार रोजर स्टोनको जेल सजाय घटाइदिए वाशिङ्टन डिसी (बीबीसी)। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना एकजना पूर्व सल्लाहकार रोजर स्टोनको जेल सजायलाई घटाइदिएका छन्।
वाशिङ्टन डीसी कोर्ट अफ अपिल्सले स्टोनको ४० महिने हिरासत सुरु हुने समय पछि सार्न अस्वीकार गरेलगत्तै ट्रम्पको यस्तो घोषणा बाहिर आएको हो।
अमेरिकी कङ्ग्रेससमक्ष झूटो बोलेको, अवरोध खडा गरेको र प्रत्यक्षदर्शीलाई प्रभावित पारेको अभियोगमा स्टोनलाई दोषी ठहर्याइएको छ।
सन् २०१६ मा ट्रम्पको चुनावी अभियानलाई सघाउन रुसले प्रयत्न गरेको पाएको अमेरिकी न्याय मन्त्रालयको अनुसन्धानसँग जोडिएर सजाय पाउने स्टोन ट्रम्पका छैटौँ सल्लाहकार हुन्।
६७ वर्षीय स्टोनले आगामी मङ्गलबार जोर्जियाको एउटा सङ्घीय जेलमा उपस्थित हुनुपर्ने थियो।
ह्वाइट हाउसको भनाइ
ह्वाइट हाउसले एउटा वक्तव्यमा भनेको छ, “रोजर स्टोन रुसी छलकपटको सिकार भएका पीडित हुन्। ट्रम्पको राष्ट्रपतीय कार्यकाललाई कमजोर पार्न वर्षौँदेखि वामपन्थी र त्यसका सहयोगी सञ्चारमाध्यमहरूले निरन्तरको मुद्दा बनाए।”
ह्वाइट हाउसले राष्ट्रपति निर्वाचनमा रुसको संलग्नताबारे छानबिन गर्ने मुख्य छानबिनकर्ता रोबर्ट मुलर मातहतका अभियोजनकर्ताहरूले ट्रम्पको चुनावी अभियानमा रुसको संलग्नता पुष्टि गर्न नसकेपछि त्यसको निराशा स्टोनमाथि पोखेको बताएको छ।
ह्वाइट हाउसले स्टोन पहिले नै धेरै पीडित भइसकेको पनि जनाएको छ।
ह्वाइट हाउसले भनेको छ, “उनलाई एकदमै गलत ढङ्गले व्यवहार गरियो। यो मुद्दामा अरु धेरैलाई पनि त्यस्तै गरियो। रोजर स्टोन अब एक स्वतन्त्र व्यक्ति हुन्।”
स्टोनले एपीलाई जनाए अनुसार सजाय कम गर्नेबारे ट्रम्पले उनलाई शुक्रवार फोन गरेका थिए। उनले उक्त निर्णयको खुसीयाली मनइरहेको बताए।
तर अमेरिकी कङ्ग्रेसको तल्लो सदनको गुप्तचर समितिका अध्यक्षले चाहिँ ट्रम्पको उक्त निर्णयले अमेरिकामा दुईखाले न्यायप्रणाली रहेको “एउटा उनका अपराधी साथीहरूका लागि र अर्को सबैका लागि” भन्ने स्पष्ट पारेको भन्दै आलोचना गरेका छन्।
विपक्षी डेमोक्र्याटिक पार्टिका नेताहरूले पनि ट्रम्पको उक्त कदमको आलोचना गरेका छन्।
को हुन् रोजर स्टोन?
स्टोनले सन् १९७०देखि रिपब्बलिकनहरूसँग काम गर्दै आएका छन्। उनले आफ्नो पिठ्यूँमा रिचर्ड निक्सनको ट्याटू खोपेका छन्।
सन् १९९० को दशकमा उनले ट्रम्पको क्यासिनो व्यवसायका लागि लबीकर्ताको रूपमा काम गरेका थिए र सन् २००० मा ट्रम्पको असफल ह्वाइट हाउस दौडमा सघाएका थिए।
नेटफ्लिक्स डक्युमेन्ट्री ‘गेट मी रोजर स्टोन’का अनुसार यी रणनीतिकारले ट्रम्पलाई पुन: राष्ट्रपतीय दौडमा फर्कन प्रोत्साहन गरेका थिए। |
बैंकिङ कसुरमा फरार २ व्यक्तिलाई प्रहरीद्वारा पक्राउ काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। उच्च अदालत पाटनले बैंकिङ कसूरमा सजाय तोकेका उनीहरुलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले शुक्रबार सूचना जारी गरी जनाएको छ । काठमाडौँ ताम्सिपाखाका सुनिता चित्रकारलाई बिहीबार र काठमाडौँ कलङ्कीका मनोजलाल सिंह दुलाललाई शुक्रबार पक्राउ गरिएको हो।
उच्च अदालत पाटनको गत फागुन १८ गतेको फैसलाले चित्रकारलाई तीन दिन कैद र छ लाख ५० हजार जरिवाना हुने ठहर भएको थियो । सजाय बेरुजु रही फरार रहेकी चित्रकारलाई स्थानीय स्वयम्भूबाट पक्राउ गरिएको छ । यस्तै उच्च अदालत पाटनको माघ १० गतेको फैसलाले सात दिन कैद र १० लाख जरिवाना ठहर भई फरार हुँदै आएका सुवाललाई स्थानीय रविभवनबाट पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।
उनीहरुलाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको जनाइएको छ । अदालतले उनीहरुले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी जाहेरवालालाई झुक्यानमा पारी विभिन्न मितिमा बैंकको चेक काटी बैकिङ कसूरजन्य अपराध गरेको ठहर गरेको थियो । |
सार्वजनिक यातायात संचालन नगर्ने व्यवसायीकाे चेतावनी काठमाडौं। बिहीबार मन्त्रिपरिषदले गरेको निणर्य सार्वजनिक गर्दै सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री डा. युवराज खतिवडाले शुक्रबारदेखि सार्वजनिक यातायात संचालन गर्न दिने निणर्य भएको सुनाए।
विश्व स्वास्थ्य संगठनको मापदण्डलाई पालना गर्दै सार्वजनिक यातायात सन्चालन गर्न दिने निर्णय गरेको केही घण्टा बित्न नपाउँदै यातायात व्यवसायीले भने सार्वजनिक यातायात संचालन नगर्ने घोषणा गरेका छन्।
सरकारले व्यवसायीसँग कुनै सल्लाह नै नगरी एकलौटी निर्णय गरेको भन्दै यातायात व्यवसायी आक्रोशित भएका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले भने सरकारले आफूलाई आन्दोलनकारीको जस्तो व्यवहार गरेको बताए।
लामो समयसम्म थन्काएर राखेका सवारी साधनको बारेमा बुझ्दै नबुझी सरकारले गरेको निर्णय आफूहरुलाई स्वीकार्य नभएको उनले बताए। ‘यातायातका साधनहरु थन्काएर राखेको कति भयो? कस्तो अवस्थामा छन्, भन्ने वित्तिकै कसरी चलाउन सकिन्छ,’ सिटौलाले डिसी नेपालसँग भने।
सरकारको निर्णय केटाकेटीलाई ललिपप दिएर फकाए जस्तो भएको उनको भनाइ छ। ‘सरकारले हामीलाई केटाकेटी फकाएजस्तो गर्यो। ललिपप दिएपछि फकाउन सकिन्छ झैं गर्यो। हामी कुनै आन्दोलनमा थियौं र? वार्ता मिल्यो गाडी खोल्नुस्, भोलिबाटै चलाउनुहोस् भन्नलाई। अवस्था बुझ्नु पर्दैन,’ उनले भने, ‘‘यातायात मजदुरहरुको स्वास्थ्यको कुरा छ। यात्रुको स्वास्थ्यको कुरो छ।’
सिटौलाले भने, ‘यसको जिम्मा कस्ले लिने ? यातायात मजदूरहरुले हामीमाथि प्रश्न उठाएका छन्। हामीले तपाईको सवारी साधन चलाउँदा केही समस्या आयो भने कसले जिम्मा लिन्छ ? के उत्तर दिनु।’
सार्वजनिक यातायातका यात्रुहरुमा कोरोनाको संक्रमण भएको थाहा नहुने हुँदा पनि यातायात संचालन गर्न त्यति सजिलो नभएको उनको भनाइ थियो। शुक्रबार दिउसो १ बजे महासंघको बैठक बस्ने र आधिकारीका धारणा बाहिर आउँने उनले बताए।
उनले भने, ‘सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुहरुमा कोरोनाको संक्रमण छ छैन कसरी भन्न सकिन्छ। निजी सवारी साधन जस्तो हो र? सरकारले एकदमै आपत्तिजनक निर्णय गरेको छ। हामी आज १ बजे वैठक बस्दै छौं। त्यसपछि आधिकारिक धारणा सार्वजनिक गरौंला।’ |
धेरैले चाहन्छन् ‘यस्तो घरबेटी मेरो पनि होस्’ काठमाडौं। ‘यो बैंकले पनि कति फोन गरेको? रकम भए त आफैं गएर खुरुखुरु किस्ता बुझाउँथे नि! आखिर बुझाउनै पर्ने रकम हो।’ सतुंगलका एक कपडा व्यापारी आफ्नै पसलमा निकै चिन्तित भएर दुखेसो पोख्दै थिए। ‘डेरावालाई पनि जबरजस्ती गर्ने कुरा आएन,’ करुणा देखाउँदै घरमा बस्नेप्रति भन्दै थिए, ‘काम धन्दा चलेपछि त भाडा बिस्तारै दिन्छ्न् नै।’
लामो श्वास लिँदै उनले थपे, ‘मैले अरु बैंकबाट ऋण लिनु पर्ने रहेछ। यो बैंकबाट लिएर ठूलो गल्ती गरे।’ वर्षात ऋतुको मौसम झैं उनको मुहारमा कालो बादल मडारिन्थ्यो त कतिबेला छर्लङ्ग घाम उदाउँथ्यो।
कथा पढेको जस्तो लाग्ला। तर, यो यथार्थ हो। सतुंगलमा घर भएका विश्वनाथ श्रेष्ठको अनुहारमा कतिबेला घाम लाग्थ्यो त कतिबेला भर्खर मुसलधारे पानी पर्ला झै गरी अधेरो छाउँथ्यो। श्रेष्ठ पेसामा व्यपार गर्छन्। श्रेष्ठले घर बनाउँदा लिएको ऋणको साँहु–ब्याज गरी महिनामा करिव ८० हजार किस्ता तिर्दै आएका छ्न्।
लकडाउन सुरुभएपछि अरु जस्तै श्रेष्ठले पनि बैंकलाई किस्ता तिर्न सकेका छैनन्। उनको आम्दानीले घर व्यवहार चलाउन ठिक्क छ। उनको किस्ता तिर्ने श्रोत भनेको घरभाडा नै हो।
‘लकडाउनभन्दा अगाडि व्यापारबाट नै मेरो घर चलाउने गरेको थिए। अहिले त व्यापार ठप्प छ। स्कुल,कलेज बन्द छ त कसरी व्यापार होस।’ उनले भने, ‘हामी त जेनतेन घर चलाउँला। मेरो घरमा मजदूरी गर्ने परिवार पनि बस्छ्न्। तिनीहरुलाई धेरै गाह्रो छ।कसरी चुलो बालुन्, के खाउन मैले सरसापट भनेर अलिअली त हेरिदिए।’
आफ्नो घरमा भाडा तिरेर बस्नेलाई आफ्नो परिवार भन्दाबढी रेखदेख गर्नमा व्यस्त हुन्थे उनी। उदार मनले उनले थपे, ‘मानिसमा मानवता हुनुपर्छ। बिचरा मान्छेलाई भोकमरी नै लागिसक्यो। मेरो घरको भाडा महिनामा असी हजार उठ्छ। म जसरी पनि व्यबहार मिलाउँला। मैले एक महिनाको भाडा सबैलाई छुट गरिदिएको छु।’
काठमाडौंलाई स्वार्थले भरिएको सहर भनिन्छ। तर, दयाका खानी पनि यही शहरमा भेटिन्छन्। श्रेष्ठको यो कोमल मन र फराकिलो छाती देख्दा सायद धेरैले चाहन्छन होला यस्तो घरबेटी मेरो पनि होस्।
‘एक महिनाको त छुट भनेर नै निर्णय गरिदिएको छु। तर, अन्य महिनाको पनि भाडा चाहिँ आएको छैन। दिन नसकेर नै होला। बिस्तारै देलान। लामो समयदेखि आफ्नै परिवार जसरी बसेकालाई यस्तो अफ्ठ्यारो समयमा टचर दिनपनी सकिँदैन।’
‘समय यस्तो छ। आम्दानी कतैबाट छैन डेरावालाई मर्का छ।’ सोही कपडा पसलमा बस्दै गरेका एक पुरुष पछाडिबाट बोल्न थाले। कपडा पसलका घरबेटी पुष्प प्रधान आफ्नै भोगाइ जसरी बोल्दै थिए, ‘अहिले म केही गर्दिन तर यो भन्दा अगाडि मैले पनि व्यापार ब्यबसाय गरेको हो। अलिअलि व्यापार भएको कमाइ हुने हो बिचरा कमाइ नै छैन।’
पेसाले उनी व्यापारी नै रहेछ्न् तर अहिले भने घरभाडाबाट नै आफ्नो जीविकोपार्जन गर्ने प्रधानको मनलाई सानो भन्न मिल्दैन। ‘मैले ५० प्रतिशत मात्रै घरभाडा लिने भनेको छु। त्यति पनि नलिगे आफूले पनि खानु पर्यो।’ सानो घर भएका प्रधानको मन निकै ठूलो छ। ब्यापार नभएर कपडा मिलाउँदै गरेका पसले घारबेटिको कुरामा खुशी देखिन्थे।
काठमाडौंमा एक महिनाको सुत्केरीलाई खाने कुराको अभाव छ। यता घरबेटीले घरबाट निकाल्न जोड दिन्छ भन्ने समाचारहरु बाहिरिरहँदा संसारमा कोही भगवानका रुप पनि छन भन्ने विर्सनु हुँदैन।
सतुंगल विद्युत प्राधिकरण नजिकै घर भएकी कल्पना ढकाल यो समय मात्रै होइन अगाडिका समयमा पनि आफ्नो घरमा बस्नेलाई आफ्नै परिवार जस्तै मान्ने गरेका अनुभव सुनाउँछिन्। केही समय अगाडि सानोतिनो व्यवसाय गर्ने कल्पनाको खुशी परिवारको सोचाइ पनि सगरमाथा जस्तै उच्च छ।
‘घरमा बस्नेले खाए, खाएनन भन्ने चिन्ता पनि लागिरहन्थ्यो’, उनले भनिन्, ‘अहिले झन महामारी छ। हाम्रो अन्य कमाइ भएको भए त सबै छुट गर्न हुन्थ्यो तर मनले चाँहादा चाँहादै पनि सकिने अवस्थामा चाहिँ छैन। त्यसैले एक महिनाको भाडा चाहीँ छुट दिने निर्णय गरेको हो।’
लकडाउनका सुरुका दिनमा नै तीन महिनाको घरभाडा छुट दिने निर्णय गरेका कलंकीका हरिहर लामिछानेले समाजमा आफ्नो छुट्टै पहिचान बनाइसकेका छ्न।
समाजसेवी लामिछाने बालापनदेखि नै अरुलाई सहयोग गर्न पाउँदा खुशी हुने गरेको बताउछ्न, ‘मलाई बालापनदेखि नै अरुको लागि केही गर्न पाउँदा खुशी लाग्थ्यो। मेरो बुबादेखि नै मैले अरुलाई केही सहयोग गर्नुपर्छ अफ्ट्यारोमा त्यो नै धर्म हो भन्ने कुरा सिकेको हुँ।’ |
नेपालप्रति आपत्तिजनक समाचार प्रशारण गरेपछि भारतीय च्यानल बन्द काठमाडौं। नेपाल र प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आपत्तिजनक समाचार प्रशारण गरेपछि नेपालका च्यानल सेवा प्रदायक संस्थाहरुले भारतीय च्यानल दुरदर्शनबाहेक सबै च्यानल बन्द गर्ने निर्णय गरेका छन्।
बिहीबार रातीबाट लागु हुनेगरी च्यानलहरु बन्द गरिएको मेगा म्याक्स टिभीका उपाध्यक्ष धुव्र शर्माले जानकारी दिए। उनले भने, ‘पछिल्ला दिनहरुमा भारतीय च्यानले प्रशारण गरिरहेका सामाग्री नेपालको सम्प्रभुतामाथिकै आक्रमणका रुपमा बुझेका छौं। त्यसैले हामीले भारतीय च्यानल बन्द गर्ने निर्णय गरेका हौं।’
उनले अपरेटरहरुले आफूखुशी सल्लाह गरेर च्यानल बन्द गरेको बताए। उनले भने, ‘अहिले च्यानल बन्द गर्ने सेवा प्रदायकहरुको सेवा नेपालका करिब ४० लाख मानिसलाई कभर गर्छन्। लगभग सबै ठूला अपरेटरले च्यानल बन्द गरेका छन्। यदि कसैले गरेको छैन भने पनि शुक्रबारसम्म बन्द गर्छन्।’
नेपालले नयाँ नक्सा जारी गरेपछि भारतीय सञ्चार माध्यमहरुले लगातार नेपालविरुद्ध सामाग्रीहरु प्रशारण गरिरहेका छन्। पछिल्लो पटक प्रधानमन्त्री ओली र चिनियाँ राजदूत होउ यान्छीलाई जोडेर आपत्तिजनक परपोर्ट प्रशारण गरेका थिए।
यसअघि पनि भारतले नेपालमाथि नाकाबन्दी लगाउँदा नेपालमा भारतीय च्यानल बन्द गरिएको थियो। |
भारतीय सञ्चारमाध्यमप्रति नेपाली नेताहरु आक्रामक काठमाडौं। नेपालले नयाँ नक्सा जारी गरेपछि विचलित भएका भारतीय सञ्चारमाध्यमहरुले नेपालबारे तथ्यहीन, आधारहीन र काल्पानिक विषयमा समाचार बनाउँदै देश र देशका प्रधानमन्त्रीबारे अनर्गल प्रचार गरेपछि नेपालमा भारतीय सञ्चार माध्यमको विरोध भएको छ।
सत्तारुढ दल नेकपाको आन्तरिक विवाद, काठमाडौंस्थित चिनियाँ राजदूतको सक्रियताका विषयलाई विषान्तर गर्दै भारतीय सञ्चारमाध्यम जी न्यूज झारखण्डले बुधबार बनाएको भिडियो रिपोर्टमा प्रधानमन्त्री केपी ओलीको चरित्र हत्या गर्न खोजिएपछि नेपालमा त्यसको विरोध भएको हो।
बुधबार भारतीय सञ्चारमाध्यम जी न्यूजले प्रधानमन्त्री ओलीबारे तथ्यहीन टिप्पणी गरेपछि दिल्लीस्थित नेपाली दूतावासले पनि सो विषय नोटिसमा लिएको बुझिएको छ। भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले बिहीबार ट्वीट गर्दै ‘भन्नुपर्न कुरा’ भनेको बताएका छन्। तर, उनले कसलाई के भनियो भन्नेबारे भने केही खुलाएका छैनन्।
बोल्नपर्ने ठाउँमा बोल्ने हो, भन्नपर्ने कुरा भन्ने हो। त्यो भएको छ। बोलिएको छ, भनिएको छ।
— Nilamber Acharya (@nilacharya) July 9, 2020
यसरी विरोध गर्नेहरु विभिन्न दलका नेतादेखि सर्वसाधारणसमेत छन्। प्रधानमन्त्री ओलीको सचिवालयका सदस्यहरुले पनि भारतीय सञ्चार माध्यमको कडा आलोचना गरेका छन्। प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहाकार विष्णु रिमालले ट्वीटरमा लेखेका छन्, ‘भारतीय सञ्चार माध्यममा नेपाल सरकार र प्रधानमन्त्रीबारे आएका समाचार स्वीकार्य छैनन्। यी समाचारहरु पत्रकारिताको नैतिकतामा र सत्यमा आधारित छैनन्।’
यस्तै प्रधानमन्त्री ओलीका विदेश मामिला सल्लाहाकार डा. राजन भट्टराईले पनि ट्वीटरमाफर्त नै भारतीय सञ्चार माध्यमको आलोचना गरेका छन्। उनले लेखेका छन्, ‘नेपालले नयाँ नक्सा जारी गरेपछि भारतीय सञ्चार माध्यमहरुले नेपाल र नेपाल सरकारविरुद्ध अफावह फैलाइरहेका छन्। ती स्वीकार्य छैनन्। देशको सार्वभौम सत्ताप्रति सबै नेपाली एकजुट छौं।’
यस्तै प्रधानमन्त्री ओलीका प्रेस सल्लाहाकार सुर्य थापाले पनि भारतीय सञ्चार माध्यमको आलोचना गरेका छन्। उनले पनि भारतीय सञ्चार माध्यमले तथ्यहीन, कपोकल्पित समाचार प्रसारण गरेको भन्दै ती समाचारका पछाडि खराव नियत रहेको बताएका छन्।
यस्तै नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतीय सञ्चार माध्यमहरुलाई बकवास बन्द गर्न भनेका छन्। उनले लेखेका छन्, ‘भारतीय सञ्चार माध्यमले हाम्रो सरकार र हाम्रो प्रमबारे अनर्गल प्रचारले सीमा नाघ्यो। हद भयो। बकवास बन्द गर। हाम्रो राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाको निम्ती हामी एक ढिक्का छौं। विदेशीको फुटाऊ र स्वार्थ पुरा गर नीति सफल हुन दिने छैनौं। यहाँ के गर्ने भन्ने हाम्रो कुरा हो।’
यसरी भारतीय सञ्चार माध्यमको आलोचना गर्नेमा सरकारी पक्षका नेताहरुमात्र छैनन् प्रतिपक्षी दलका नेताहरुले पनि भारतीय सञ्चार माध्यमको आलोचना गरेका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले पनि भारतीय सञ्चार माध्यमको आलोचना गरेका छन्।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘प्रम ओलीको कार्यकाल भ्रष्टाचार काण्डै काण्डले भरिएको छ। र शासकीय दुर्वलताका सन्दर्भमा प्रम ओलीसँग मेरो सयौं बिमतीहरु छन्। तर भारतीय सञ्चार माध्यमले प्रम ओलीविरुद्ध विष वमन गर्नेक्रममा हनी ट्र्याप जस्ता घृणित आरोप लगाएको कुरा कदापी स्वीकार्य छैन।’
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पनि भारतीय सञ्चार माध्यमले प्रधानमन्त्री ओलीको चरित्र हत्या गर्ने गरी प्रकाशित गरेको समाचारप्रति आक्रोश व्यक्त गरेका छन्।
उता नेकपा विदेश विभाग उपप्रमुख विष्णु रिजालले पनि भारतीय सञ्चार माध्यमप्रति आक्रोश पोखेका छन्।
यस्तै पत्रकार कोषराज कोइरालाले पनि भारतीय सञ्चार माध्यमहरुमा पछिल्ला दिनहरुमा नेपालविरुद्ध प्रसारण भइरेहका समाचारको आलोचना गरेका छन्।
यस्तै ट्वीटरमा डा. लुना भट्टले पनि भारतीय सञ्चार माध्यमको आलोचना गरेकी छन्।
यसरी भारतीय सञ्चार माध्यमको आलोचना गर्ने यतिमात्र होइन्। अन्य नेपालीहरुले पनि भारतीय सञ्चार माध्यमको आलोचना गरेका छन्। नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानीसमेत समेटेर नयाँ नक्सा जारी गरेपछि भारतीय सञ्चार माध्यमहरुले नेपाल सरकार र प्रधानमन्त्री ओलीविरुद्ध लागतार तथ्यहीन समाचारहरु प्रकाशित गरिरहेका छन्।
भारतीय सञ्चारमाध्यमले प्रधानमन्त्री ओलीको चरित्र हत्या गरेको भन्दै नेपाल पत्रकार महासंघले पनि आपत्ति जनाएको छ। बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै बिहीबार जी न्यूजले प्रशारण गरेको समाचारको निन्दा गर्दै त्यसको कुटनीतिक माध्यमबाट खण्डन गर्न पनि नेपाल सरकारसँग माग गरेको छ।
|
ओखलढुङ्गामा ट्रक दुर्घटना, चालकको घटनास्थलमै मृत्यु ओखलढुङ्गा । ओखलढुङ्गामा ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।
आज बिहान करिब ४ः३० बजे काठमाडौँबाट सोलुतर्फ जाँदै गरेको ट्रक ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–८ सेतीदेवी मन्दिर नजिकै दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको हो।
सोलुखुम्बुस्थित सोलुखोला बेनी हाइड्रोको सामान बोकेको बा३ख ९६ नंको ट्रक दुर्घटना हुँदा ट्रकका चालक दोलखाको जिरीका २४ वर्षीय नवराज कार्कीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक मिलनसिंह बस्नेतले जानकारी दिए ।
ट्रक सडकबाट करिब १०० मिटर तल खसेको छ। |
बाह्रबिसे नगरपालिका जम्बुका १५ घर बाढीले बगायो, केही व्यक्ति सम्पर्कविहीन मेलम्ची। गएरातिदेखिको अविरल वर्षाले बाह्रबिसेदेखि तातोपानी क्षेत्रका विभिन्न ठाउँमा क्षति पु-याएकोे छ। उद्धारका लागि निस्किएको नेपाली सेना र नेपाल प्रहरी पनि जम्बुसम्म पुग्न नसकेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए।
अविरल वर्षाका कारण बाह्रबिसे नगरपालिका जम्बुको ठाडोखोलामा आएको बाढीले बाह्रबिसे नगरपालिकाका १५ घर बगाएको र केही व्यक्ति सम्पर्कविहीन भएका छन्।
बाह्रबिसे नगरपालिका उपप्रमुख सुशीला पाख्रिनले बताएअनुसार वर्षाले कति क्षति भयो भन्ने यकिन हुनसकेको छैन। बाह्रबिसेको खोर्सानीवारीभन्दा माथितिर जान नसकिएको र टेलिफोन अवरुद्ध भएको पाख्रिनले बताए।
“खोला सडकमाथि बगिरहेको छ, उद्धारका लागि जानसक्ने अवस्था छैन”, उहाँले भन्नुभयो । निरन्तर पानी परिरहेकाले पहिरो आएको हो। भोटेकोशी नदीको बहाव बढ्नाले आसपासका नागरिक त्रसित बनेका छन् । सबैलाई सुरक्षित रहन उपप्रमुख पाख्रिनले अनुरोध गरेका छन्। रासस |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.