content
stringlengths
31
27.4k
दसैँको लागि अग्रिम टिकट बुकिङ ११ गतेदेखि खुल्ने काठमाडौं । यो वर्षको दसैँलाई लक्षित गरेर लामो दूरीको यातायातको अग्रिम टिकट बुकिङ ११ असोजभित्र खुल्ने भएको छ । यातायात व्यवस्था विभागले आज यातायात व्यवसायी, ट्राफिक प्रहरी महाशाखाको संयुुक्त छलफलले लामो दूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ सञ्चालन गर्ने निर्णय गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए । उनी भन्छन्, ‘‘अग्रिम टिकट बुकिङ खुल्नेसम्म सरकारलाई भाडादर समायोजन गर्ने अपेक्षा राखेका छौँ । सडक मर्मतका लागि पनि छलफल भएको छ । सडक मर्मत गरेर गाडि गन्तव्यस्थलसम्म पुर्‍याउने वातावरण त्यतिञ्जेलसम्म होला ।” सिटौलाले नागरिक साहायत कक्षहरु राजधानीका बसपार्क लगायतका सातै प्रदेश र सबै जिल्लामा राख्न छलफल भएको जानकारी दिए। उनले अनलाइन प्रविधिमाफत् बुकिङ गर्न चाहनेले सहजै बुकिङ गर्ने व्यवस्थाको शुरुवात गरेका यातायात कम्पनीहरुबाट सहजै बुकिङ गर्न सकिने बताए । यातायात व्यवस्था विभागले यसपालिको दसैँमा १० लाख मानिसहरू काठमाडौं उपत्यकाबाट बाहिरिने अनुमान गरेको छ ।
डिआइजीको नाममा पैसा उठाउने महिला पक्राउ काठमाडौं । प्रदेश २ प्रहरी प्रमुख डीआईजी उमेश रञ्जितकारको नाम लिएर रकम ‘डिल’ गर्ने सर्लाही घर भएकी शुसिला थापा दहाललाई प्रहरीले पक्राउ गरेको छ । थापाले रौतहटको गरुडा नगरपालिकाको विर्तामा रहेको प्रहरी विद्यालयमा स्थायी जागिर लगाइदिन भन्दै पर्सा मणिपुरका उदास कुमार पाण्डेसँग ६ लाख रुपैंया माग गरेको अडियो सार्वजनिक भएको थियो । फोन रेकर्डमा सुनिएको आवाज आफ्नै भएको उनले स्वीकारेकी छिन । इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी भण्डारीले भने ‘घटनाको छानबिनका लागी अहिले उनलाई नियन्त्रणमा राखिएको छ । फोन रेकर्ड गरेर आफूलाई बार्गेनिङ्ग गरेको पक्राउ परेकी महिलाले जनाएकी छिन्। दोस्रो कलमा उनलाई पाण्डेले बैंकमा रसिद जम्मा गरेको फोटो म्यासेन्जरमा पठाइदिने भनेका छन् भने थापाले रसिदको फोटो हेरेर मात्र काम अगाडि बढ्ने जिकिर गरेकी छिन् ।
राष्ट्रिय निकुञ्जबाट भरुवा बन्दुकसहित दुई जना पक्राउ काठमाडौं । खप्तड राष्ट्रिय निकुञ्जभित्र चोरी सिकारमा संलग्न भएको आरोपमा दिलबहादुर जेठारा र वीरेन्द्रबहादुर कार्की पक्राउ परेका छन् । बझाङ खप्तड छान्ना गाउँपालिका १ का ५९ वर्षीय जेठारा र ३५ वर्षीय कार्कीलाई निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेना तथा निकुञ्जका कर्मचारीको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरुका साथबाट नेपाली सेनाले एक थान भरुवा बन्दुक, बन्दुकमा लाग्ने पाँच थान गोली, बारुद दुई डिब्बा तथा बन्दुकको केप एक डिब्बा बरामद गरेको सिंहसारदुल गुल्म खप्तडले जनाएको छ । गुल्मका अनुसार उनीहरूलाई खप्तड राष्ट्रिय निकुञ्जको पौवागढीबाट पक्राउ गरिएको हो । पक्राउ परेकाको बयान लिने काम भइरहेको बताउँदै उनले आवश्यक कानुनी कारबाहीका लागि जिल्ला न्यायधिवक्ताको कार्यालयमार्फत अभियोग दर्ता गरिने भएको छ ।
तोडफोड गर्नेलाई कारवाहीको माग काठमाडौं । पेशागत महासङ्घ नेपालले आफ्नो कार्यालयमा तोडफोड गर्नेलाई कारबाहीको माग गरेको छ । यही असोज ४ गते पदाधिकारीको बैठक बसिरहेका बेला एउटा समूहले कार्यालयमा तोडफोड गरेको थियो । महासङ्घका संयोजक बाबुराम थापाले आज विज्ञप्ति जारी गर्दै तोडफोडमा संलग्नलाई कारबाही गर्न माग गरेका छन् । उनले कार्यालयमा लगाइएको ताला खोल्न माग गरेका छन् । सो कदम ट्रेड युनियनको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मूल्य, मान्यता र सिद्धान्त विपरीत भएको महासङ्घले जनाएको छ ।
कानुन मन्त्रीका गाडीले मात्र बर्षमा २६ सय लिटर तेल खर्च ! काठमाडौँ । सरकारी नियमअनुसार सहसचिवभन्दा तलका कर्मचारीलाई गाडी सुविधा दिइँदैन तर अरुलाई कानुन र नियमको पाठ सिकाउने कानुन मन्त्रालयमा उपसचिव तहका लागि ६ वटा गाडी सुविधाका सरकारी गाडी चढ्दै आएको भेटिएको छ । कानुन,न्याय तथा संसदीय मामिला मन्त्रालयमा १७ वटा चार पांग्रे गाडी रहेको भेटिएको छ । जसमध्ये मन्त्रीका लागि दुई वटा,सचिवका लागि १,५ सह सचिवका लागि एक एक वटा र उपसचिव ५ जनाका लागि एक एक वटा गाडी छुटटाइएको भेटिन्छ । मन्त्रीका स्वकीयको लागि समेत गाडी छुट्टाइएको छ भने पुलमा एउटा गाडी राखिएको छ । मन्त्रालयका कतिपय उपसचिवले कार्यालय प्रयोजनका लागि खरिद गरिएको गाडी व्यक्तिगत रुपमा समेत चढ्दै आएका छन् । कार्यालय प्रयोजनका लागि खरिद गरिएको गाडी उपसचिवहरुले आफ्नै घरमा लगेर राख्न नमिल्ने भए पनि कतिपय उपसचिवले चालकसहित गाडी घर लैजाले गरेका भेटिएको छ । त्यहाँ ४० वटा बाइक रहेको भेटिएको छ । मन्त्रीका गाडीले मात्र बर्षमा २६ सय लिटर तेल खर्च भएको सो कार्यालयले उपलव्ध गराएको विवरणमा भेटिन्छ । सरकारले खर्च कम गर्न भने पनि अधिकांश कर्मचारीहरुको रोजाईमा कार नै पर्ने गरेको देखिन्छ । सरकारले सिंहदरबारभित्रका कर्मचारीलाई लक्षित गरेर ९ वटा बसमात्र सञ्चालन गरिरहेको भए पनि सिंहदरबारभित्रका अधिकांश कर्मचारीहरु कारमा हुँइकिने गरेका छन् । सञ्चालनमा रहेका ९ वटा बसमध्ये केही खाली गुड्ने गरेको भेटिन्छ । सरकारले सहसचिव भन्दा तलका कार्मचारीलाई व्यक्तिगत सुविधाका लागि गाडी दिने मापदण्ड नभए पनि उपसचिव र अधिकृतलाई आवश्यकता अनुसार दुईपांग्रे सवारी सुविधामा दिइँदै आएको छ। तर सिंहदरबार भित्रका सचिव तथा सहसचिवका चालकले समेत मोटरसाइकल सुविधामा लिने गरेका भेटिन्छ ।
पदक पाउने कस्ता? कालोबजारीमा मुछिएकादेखि राजश्वमारासम्म ! काठमाडौं । सरकारले हरेक बर्ष बाढ्ने मान पदवी अंलकारको गरिमा घट्दै गयो । यस बर्ष नेपाली इतिहासकै सबैभन्दा बढी ९०३ जनाले पदक पाए । पदक पाउने पनि कस्ता कस्ता भने कालोबजारीमा मुछिएकादेखि राजश्वमारासम्म । पदक पाउनेमध्ये एउटै उद्योगका तीन जना भेटिए । यसरी तक्मा पाउने कोही नभई बुटवलको श्रीराम टोबाको कम्पनीका संचालकहरु हुन् । क्रमश कमलकिशोर मालपानी, चुन्नुप्रसाद शर्मा पौडेल र नरिश्वर पौडेलले गृहमन्त्री बालकृष्ण खाणकै सिफारिसमा २०७८ को जनसेवाश्री विभूषणबाट बिभूषित गरिएको हो । यो कम्पनीमाथि सर्वोच्च अदालतले १४ पुस २०७० मा खैनी, चुरोट, गुट्खा, बिडी लगायत सुर्तीजन्य उत्पादनको बट्टाको ७५ प्रतिशत भागमा क्यान्सरले फोक्सो कुहिएको रंगीन चित्र राख्नुपर्ने फैसला सुनाए पनि श्रीराम टोबाकोले त्यसबिपरीत उत्पादन गर्दै बिक्री बितरण गरिरहेको छ । श्रीराम टोबाकोले गुट्खा र खैनीमा राजस्वको स्टीकर नटाँसी करोडौं राजस्व छली गरेको छ । श्रीराम टोबाको कम्पनीले गुट्खा र सुर्ती उत्पादन गरी राजस्व छली गरेको प्रमाण भेटिएपछि राजस्व अनुसन्धान विभागले २०७६ पुसमा काठमाडौं र रुपन्देहीमा मुद्दा दायर गरेको थियो । विभागले बुटवल नगरपालिका–१२ मा रहेको श्रीराम टोबाकोलाई १० करोड ७३ लाख बिगो कायम गरी रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । कम्पनीका संचालक कमलकिशोर मालपानी, चुन्नप्रसाद शर्मा पौडेल लगायतले कम्पनीबाट उत्पादन हुने अन्तःशुल्क लाग्ने सुर्तीजन्य पदार्थको उत्पादन कम देखाई विभिन्न बिक्रेताहरुको सहयोगमा स्टीकर र कर बिजक बिना मालवस्तु बिक्री गरेको पाइएको विभागले जनाएको थियो । भोला र करेन्ट ब्रान्डका अलावा कमल किशोर मालपानी र पौडेल बन्धुले नेपाली बजारमा अरु विभिन्न नामका गुट्खा र सुर्ती बिक्री गरी राजस्व मार्ने काम गर्दैआएका छन् । भारतीय राज्य बिहार र उत्तर प्रदेशमा प्लाष्टिकको प्याकेटमा सूर्ती र गुट्खा बिक्री गर्न प्रतिबन्ध लागेपछि मालपानीहरुले नेपालबाट भारततर्फ सुर्ती र गुट्खा तस्करी समेत गर्दैआएका छन् । भारतीय बजारमा गुट्खाको माग बढी छ । श्रीराम टोवाको कम्पनीबाट उत्पादित भोला र करेन्ट गुट्खाको अवैध कारोबार गर्दै करोडौैं राजस्व ठगी गर्दैआएका मालपानी र पौडेलले आफ्नो कर्तुत ढाकछोप गर्नका लागि रुपन्देहीकै गृहमन्त्री खाण भएको बेला उनका आसेपासेलाई आर्थिक प्रलोभन दिई पदक हत्याउन सफल भएका छन् । मासिक दसौं करोडको गुट्खा र खैनी बिक्री गर्ने मालपानी र पौडेल बन्धुहरुले बिभूषण लिन ठूलै रकम गृहमन्त्री खाणका आसेपासेमार्फत् खर्च गरेको चर्चा बुटवलमा छ । राजश्वको स्टीकर नभएका गुट्खामा कुनै कर नलाग्ने र सस्तो पर्ने भएकाले त्यस्ता कर छली गरेका गुट्खा मालपानी र पौडेलहरुले बिक्री गरी रातारात करोडौं करोडका मालिक भएका हुन् । उता यस्तै बदनाम व्यक्तिलाई पदक दिइएको छ । रासायनिक मल समयमा आयात नगरेको आरोप लागेका ठेकेदार र कोरोना महामारीको समयमा बिरामीको उपचार गर्न नसक्ने भन्दै सार्वजनिक सूचना जारी गरेका अस्पताल निर्देशकले पनि सरकारबाट पदक पाउन सफल भएका छन् । मल आयातको जिम्मा लिएर समयमा ल्याउन नसकेका ठेकेदार हुमनाथ कोइरालाले प्रबल जनसेवाश्री र महामारीको समयमा जनतालाई स्वास्थ्य सेवा दिन नसक्ने भन्दै पन्छिएका कर्णाली प्रादेशिक अस्पतालका निर्देशक डा. डम्बर खड्काले सुर्कीतिमय राष्ट्रदीप पदक पाउने भएका ह्न् । आइतबार संविधान दिवसको अवसरमा घोषणा गरिएको पदकको सूचीमा कोइराला र डा. खड्काको पनि नाम छ । यस्तै,सुर्कीतिमय राष्ट्रदीप पदक पाएका कर्णाली प्रादेशिक अस्पतालका निर्देशक डा. डम्बर खड्काले कोभिड—१९ महामारीको दोस्रो लहरमा अस्पतालमा अक्सिजन नभएको भन्दै बिरामी भर्ना गर्न नसकिने सार्वजनिक सूचना जारी गरेका थिए। प्रदेशकै सबैभन्दा ठूलो अस्पतालले बिरामी नलिने घोषणा गरेपछि तत्कालीन प्रदेश सरकारले उनीविरुद्ध छानबिन गरी कारबाहीको तयारी गरेको थियो। कर्णाली सरकारका प्रवक्ताले पत्रकार सम्मेलन नै गरेर निर्देशक खड्कामाथि छानबिन सुरु गरिएको र उनलाई कारबाही गरिने बताएका थिए । तर, सत्तारुढ दल नेकपामा विवाद बढेर कर्णाली सरकारमा हेरफेर भएसँगै उनको कारबाही रोकिएको थियो। अस्पतालले जारी गरेको सूचना संविधानको मौलिक हकविपरीत भएको भन्दै डा. खड्काविरुद्ध उच्च अदालत सुर्खेतमा मुद्दासमेत परेको थियो। सो मुद्दा अहिले पनि विचाराधीन अवस्थामा छ। अस्पतालले बिरामीको उपचार गर्न नसकिने सूचना प्रकाशित गरेपछि सरकारले उक्त अस्पताललाई केन्द्र मातहतमा राख्ने प्रक्रिया पनि सुरु गरेको थियो । सकारले यस वर्षको संविधान दिवसको दिन बाँड्न लागेका पदकमध्ये स्वास्थ्यतर्फ सबैभन्दा ठूलो पदक पाउने चिकित्सक हुन्, डा. खड्का । उनी नेपाली कांग्रेसका सहमहामन्त्री पूर्णबहादुर खड्काका भाइ हुन् । उसो त यस बर्ष पदक पाउनेमा प्रचण्ड पत्नी सीता दाहाल पनि छिन । यस अघि प्रचण्डका पुत्र प्रकाशलाई पदक दिलाइएको थियो ।
पाकिस्तानमा रहेको न्यूजिल्याण्डको क्रिकेट टिमलाई भारतबाट धम्की ! काठमाडौं। पाकिस्तानका सूचना तथा प्रसारण मन्त्री फवाद चौधरीले न्यूजिल्याण्डको क्रिकेट टिमलाई जुन डिभाइसबाट धम्की पठाइएको थियो त्यो डिभाइसको सम्बन्ध भारतसँग भएको आरोप लगाएका छन् । इस्लामाबादमा बुधबार एक पत्रकार सम्मेलनका क्रममा उनले यस्तो बताएका हुन् । फवाद चौधरीले भने ‘यो मामिला त्यतिबेला सुरु भयो जब कसैले तहरिक–ए–तालिबान पाकिस्तान (टीटीपी)का चरमपन्थी एहसुल्लाह एहसान भएको दावी गर्दै एउटा फर्जी पोस्ट गरे ।’ फवाद चौधरीका अनुसार अगष्टमा एहसानको नामबाट एक फर्जी पोस्ट गरिएको थियो जसमा न्यूजिल्याण्ड सरकारलाई पाकिस्तानमा खेलाडीहरुलाई निशाना बनाउन सकिने भन्दै आफ्नो टिम पाकिस्तान नपठाउन भनिएको थियो । चौधरीका अनुसार यो पोस्टपछि भारतीय समाचार वेबसाइट द सन्डे गार्डियनका ब्युरो चिफ अभिनन्दन मिश्राले एउटा समाचार प्रकाशित गरेका थिए जसमा न्यूजिल्याण्ड टिममाथि पाकिस्तानमा आतंकवादी आक्रमण हुन सक्ने दावी गरिएको थियो । फवाद चौधरीले भने ‘रोचक कुरा त के भने अभिनन्दन मिश्राको अफगानिस्तानका पूर्व उपराष्ट्रपति अमरुल्लाह सालेहसँग बलियो सम्बन्ध छ ।’ चौधरीका अनुसार २४ अगष्टमा न्यूजिल्याण्डका ओपनर मार्टिन गुप्टिलकी पत्नीलाई एउटा धम्कीपूर्ण इमेल पठाइएको थियो । फवाद चोधरीका अनुसार जाँचमा धम्की पठाउने इमेलबाट कुनै पनि सामाजिक संजालमा खाता नबनाइएको र त्यो आइडीबाट पठाइएको यो एकमात्र इमेल भएको खुलासा भयो । चौधरीका अनुसार यो इमेल प्रोटोनमेल नामको एक सुरक्षित सेवामार्फत पठाइएको थियो । चौधरीले यो इमेलका बारेमा थप अनुसन्धानको लागि इन्टरपोलसँग सहयोग मागिएको बताए ।
भीरबाट लडेर एक पुरुषको मृत्यु काठमाडौं । मलेखु बजारबाट घर जाने क्रममा बुधबार साँझ धादिङमा एक जनाको मृत्यु भएको छ । जिल्लाको गजुरी गाँउपालिका–२ मलेखु बजार नजिकैको भीरबाट लडेर स्थानीय रामबहादुर गुरुङको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीका डिएसपी युवराज खड्काले बताए । बेनिघाट रोराङ गाँउपालिका–२ महादेवस्थान निवासी ६३ वर्षीय गुरुङको शव सडकबाट करिव ६० फिट तल भेटिएको डिएसपी खड्काले बताए । मृतक गुरुङको शव घटनास्थलबाट निकालेर पोस्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा राखिएको डिएसपी खड्काले बताए ।
सरस्वती प्रधान १ लाख १५ हजार धरौटीमा रिहा काठमाडौं । सञ्चारकर्मी रुपा सुनारमाथि जातीय छुवाछुत तथा विभेद गरेको आरोप लागेकी सरस्वती प्रधान धरौटीमा रिहा भएकी छन्। बबरमहलकी प्रधानले तनहुँकी रुपा सुनुवारलाई दलित भएको बताएपछि कोठा भाडामा दिन अस्वीकार गरेकी थिइन् । उनलाई जातीय विभेद तथा छुवाछुतजन्य कसूर गरेको भन्दै मुद्दा दायर भएको थियो । बुधबार मुद्दाको थुनछेक बहसपछि न्यायाधीश नारायणप्रसाद सुवेदीको इजलासले घरबेटी प्रधानलाई एक लाख १५ हजार रुपैयाँ धरौटी तिर्न आदेश जारी गरेको हो। सञ्चारकर्मी रुपा सुनारले गत असार १ गते आफू दलित भएकै कारण प्रधानले कोठा भाडामा नदिएको भन्दै उनीविरुद्ध उजुरी दिएकी थिइन् । उनले घरबेटी प्रधानलाई जातीय भेदभाव तथा छुवाछुत कसूर तथा सजाय ऐन २०६८ अनुसार कारबाही माग गरेकी थिइन् । त्यसपछि पक्राउ परेकी प्रधानमाथि अनुसन्धान नसक्दै प्रहरीले रिहा गरेको थियो । उनलाई रिहा गराउन तत्कालिन शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ प्रहरी कार्यालय नै पुगेकामा आलोचना भएको थियो ।
सरकारले तोक्यो धानको न्यूनतम मूल्य काठमाडौं । सरकारले यसवर्षको धानको न्यूनतम मूल्य तोकेको छ। आज कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको कृषि तथा पशुपक्षी व्यवसाय प्रवद्र्वन महाशाखाले एक सूचना जारी गर्दै महाशाखाले मोटा धानको न्यूनतम समर्थन मूल्य रु २७५२ प्रति क्विण्टल र मध्यम धानको न्यूनतम समर्थन मूल्य रु २९०२ प्रति क्विण्टल तोकेको छ । यस्तै तोकिएको नयाँ मूल्य गत आर्थिक बर्षको तुलनामा दुबै किसिमको धानमा रु १७ प्रति क्विण्टलले वढी रहेको जनाएको छ । भदौ २९ गतेको निर्णयअनुसार धानको न्यूनतम समर्थन मूल्य तोकेको जनाएको छ । समयमा नै मूल्य नतोक्दा व्यवसायीले मनोमानी मूल्यमा धान खरिद गर्ने भन्दै सरकारले प्रत्येक वर्ष मोटा र मध्यम किसिमका धानको न्यूनतम समर्थन मूल्य तोक्दै आएको छ ।
झापामा महिलाको शरीर टुक्रा टुक्रामा गिँडियो काठमाडौँ । झापा गाउँपालिका–१ सानो माई खोलामा टुक्रा–टुक्रा पारी महिलाको शवलाई खोलामा बगाइदिने ४ जनालाई झापा प्रहरीले पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको छ । स्थानीय सानो माइखोलामा गत भदौ २५ गते धोन्नी टुडुको अर्ध शरीरको टाउको, घाँटी, पेट र कम्मरभन्दा माथिको भाग तथा घुँडाभन्दा मुनीको भाग नभएको अवस्थामा शव फेला परेको थियो । जग्गाको विषयमा पारिवारिक विवाद हुँदै आएकोमा भदौ २५ गते आफन्तले टुडुलाई माइखोला किनारमा लगि शरीरको विभिन्न भाग काटेर खोलामा फालेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । शव झापा गाउँपालिका १ माइती घर भई भारत किसनगञ्ज जिल्ला सिंघीमारी ग्राम पञ्चायत बस्ने ५० वर्षीया डोली भन्ने धोन्नी टुडु रहेको झापाका प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए । हत्या आरोपमा प्रहरीले मृतकको भान्जा भारत देश किसनगञ्ज जिल्ला सिंघीमारी ग्राम पञ्चायत बस्ने वर्ष २३ को ऐतवार सोरेन, मृतकको सौताको भाई झापा गाउँपालिका १ बस्ने वर्ष ३७ को लखन टुडु सतारलाई पक्राउ गरेको छ । मृतक महिलाको बाल बच्चा नभएको र सौताका नातेदारले षड्यन्त्र गरि उनको हत्या गराएको प्रहरीको आशंका छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
वरिष्ठ पत्रकार कोइरालासहित पुरस्कृत काठमाडौँ । प्रेस काउन्सिल नेपालको ५२औँ वार्षिकोत्वसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने पत्रकारलाई पुरस्कार प्रदान गरेकी छिन् । वरिष्ठ पत्रकार भारतदत्त कोइरालालाई रु एक लाख ५१ हजार राशिको ‘प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार’ प्रदान गरेको हो । सो अवसरमा वरिष्ठ पत्रकार बद्रीविनोद खनाल (प्रतिक)लाई रु एक लाख १० हजार राशिको ‘प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार’ प्रदान गरियो । ‘प्रेस काउन्सिल आचारसंहिता पत्रकारिता पुरस्कार’ हिमालय टाइम्स दैनिक (उज्ज्वल शर्मा)लाई तथा ‘प्रेस काउन्सिल सशक्त सञ्चारकर्मी पुरस्कार’ विमल गौतम र दुर्गालाल केसीलाई प्रदान गरिएको छ । ती पुरस्कार क्रमशः रु ५० हजार र २० हजार राशिका हुन् । ‘प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कार’ लोकबहादुर चौधरी (लक्की), ‘प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार’ वासुदेव शर्मा, माधव नेपाल, विन्दुकान्त घिमिरे, गोविन्दप्रसाद चौलागाईं, रामानन्द गुप्ता, सुशील अर्याल र रमेश ढुङ्गेललाई प्रदान गरियो । उनीहरुलाई जनही रु २० हजार नगद राशिसहित पुरस्कार प्रदान गरिएको हो । ‘प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार’ घनश्याम खड्का, उर्वशी बस्नेत न्यौपाने, एलपी देवकोटा, जीवन सेजुवाल, मेघराज खड्का, कृष्णचन्द्र लामिछाने, देवेन्द्र बस्नेत, देवचन्द्र भट्ट, चूडामणि लिम्बू, चन्द्रकला क्षेत्री (भगवती थापा), शिवकुमार रिजाल, रमेश खतिवडा, जगन्नाथ दुलाल र तीर्थ जैसीलाई प्रदान गरियो । उक्त पुरस्कार जनही रु १५ हजार नगद राशिसहितको हो । समारोहमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव वैकुष्ठ अर्याल र काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतलगायत सहभागी थिए ।
डा. भक्तमानको अपहरणमा संलग्‍न पण्डित पक्राउ काठमाडौँ । चितवनका चिकित्सक (बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका तत्कालीन कार्यकारी निर्देशक) डा. भक्तमान श्रेष्ठको अपहरणमा संलग्न रही फरार एक व्यक्ति लामो समयपछि पक्राउ परेका छन् । प्रहरीको कन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) को टोलीले नुवाकोट जिल्लाको विदुर नगरपालिका–१२ मुलाबारीबाट स्थानीय ४५ वर्षीय राजेन्द्र पण्डितलाई पक्राउ गरेको हो । अपहरण तथा शरीर बन्धक कसुरमा उच्च अदालत हेटौँडा इजलासको २०७० माघ २१ को फैसलाले उनलाई नौ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना सुनाएको थियो । तत्कालीन मुलिकी ऐन, (२०२०) को अपहरण तथा शरीर बन्धक लिनेको महलको ३ नं बमोजिम सात वर्ष कैद र सोही महलको ७ नं बमोजिम दुई वर्ष थप कैद गरी जम्मा नौ वर्ष कैद तोकिएको थियो । त्यसपछि पण्डित फरार हुँदै कहिले नेपाल त कहिले भारतमा लुकेर बसेका थिए । पछिल्लो समयमा नेपाल प्रवेश गरेको सूचना पाएपछि केही अघिदेखि सिआइवीको टोलीले उनको खोजी थालेकोमा मङ्गलबार पक्राउ परेका हुन् । उनलाई फैसला कार्यान्वयनका लागि आज जिल्ला अदालत काठमाडौँमा पेस गरिएको सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए । अपहरणमा संलग्न नुवाकोटका बद्रिप्रसाद ढुंगाना, काठमाडौंका गौतम योञ्जन, भारतका रोहित पालिवाललगायत पक्राउ परिसकेका छन् । मुख्य अभियुक्त भनिएका नुवाकोटका भीमसेन पण्डित अझै फरार छन् । भारतमा रहेका उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ । राजेन्द्र भने भीमसेनका नजिकका मान्छे हुन् । उनी डा श्रेष्ठको अपहरणपछि राख्ने ठाउँको व्यवस्थापनमा संलग्न रहेको प्रहरीले जनाएको छ । २०६७ जेठ ४ मा चितवनको भरतपुर महानगरपालिका–१०, साबिकको भरतपुर नगरपालिका–१० चौबिसकोटीस्थित चितवन अस्पतालबाट घर फर्कँदै गर्दा स्थानीय हाकिमचोक नजिकको भित्री सडकबाट डा श्रेष्ठलाई अपहरण गरिएको थियो । प्रहरी प्रधान कार्यालयका अनुसार अपहरणपछि उनलाई काठमाडौँ र नुवाकोटका विभिन्न ठाउँमा बन्धक बनाई राखिएको थियो । अपहरण भएको १८ दिनपछि फिरौती लिएर डा श्रेष्ठलाई अपहरणकारीले छाडेका थिए । अपहरणको चार दिनपछि उनको ब्रिफकेस चितवनको मुग्लिन नजिक घोप्टेभिरमा फेला परेको थियो । अपहरणकारीलाई उनका परिवारले फिरौतीबापत भारतमा साढे तीन किलो सुन ९तत्कालीन मूल्यअनुसार एक करोड १० लाख रुपैयाँ पर्ने० बुझाएपछि डा श्रेष्ठ २०६७ जेठ २२ गते धादिङको माझिकोटबाट अपहरणमुक्त भएका थिए । त्यो बेला उनीहरुले कल बाइपास गरेर परिवारसँग सम्पर्क गर्ने गरेका थिए । यसअघि काठमाडौँ महानगरपालिका–४ बस्ने ४१ वर्षीय गौतम योञ्जनलाई पनि सिआइवीको टोलीले नै काठमाडौंबाट पक्राउ गरेको थियो । रासस
भिरबाट खसेको ढुङ्गाले लाग्दा आमाछोरीको मृत्यु काठमाडौं । रोल्पा नगरपालिकाका–९ निवासी २७ वर्षीय सङ्गीता पुन र उनकी दुई वर्षीय छोरी कृतिकाको भिरबाट खसेको ढुङ्गा लाग्दा मृत्यु भएको छ । घर नजिकै रहेको मकैबारीबाट बाँदर हेरेर घर फर्कने क्रममा ढुङ्गाले लागेको प्रहरीले बताएको छ। भिरदेखि ४०० मिटर तल खोल्साको पानीमा शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी निरीक्षकको टोलीले घटनास्थलबाट शवपरीक्षणका लागि जिल्ला अस्पताल लगेको प्रहरी निरीक्षक सन्तोष केसीले बताए ।
इन्टरनेट र टेलि‍फोनको पहुँच नहुँदा हुम्लाका गणकलाई फाराम भर्न समस्या काठमाडौँ । राष्ट्रिय जनगणना २०७८ को पहिलो चरणमा अघिल्लो बुधबार सुरु भएको घर तथा घरपरिवार सूचीकरण कार्यमा सात प्रश्‍न लिएर सुपरिवेक्षक घरदैलो गरिरहेका छन् । केन्द्रीय तथ्यांक विभागले १२औं राष्ट्रिय जनगणनाका निम्ति तयार पारेको प्रश्नावली लिएर देशभरि ८ हजार ५ सय सुपरिवेक्षक खटाइएका छन् । हुम्लाका सातवटै गाउँपालिकाका ४४ वडामा राष्ट्रिय जनगणना २०७८ अन्तर्गत सुपरीवेक्षक परिचालन गरिएको छ । जनगणना कार्यालयका प्रमुख विनोद भट्टले भने “ गाउँगाउँका सुपरीवेक्षक परिचालन भएका छन् । गणना कार्य जारी छ । ”उनले भने, “हुम्ला भौगोलिक हिसाबले विकट त छँदैथियो, योसँगै टेलिफोन र इन्टरनेटको समस्याका कारण गाउँगाउँमा परिचालन गरिएका सुपरीवेक्षकलाई तथ्याङ्क सङ्कलनमा थप समस्या भएको छ ।” भौगोलिक विकटता र इन्टरनेटको समस्याले तथ्याङ्क सङ्कलनको काम प्रभावित भएको उनले गुनासो गरे ।
अध्यक्ष नेपालद्वारा राजनीतिक प्रतिवेदन पेश काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेस गरेका छन् । अध्यक्ष नेपालले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि विभिन्न पाँच समूह बनाई भोलि (बुधबार)देखि समूहगतरूपमा छलफल हुने केन्द्रीय सदस्य गरिमा शाहले जानकारी दिए । नेपालले पेस गरेको राजनीतिक प्रतिवेदनमा वर्तमान राष्ट्रिय राजनीतिक परिस्थिति तरल अवस्थामा रहेको उल्लेख गरिएको छ । केन्द्रीय कमिटीको पूर्णता, जिल्ला इञ्चार्ज तोक्ने, प्रदेश कमिटी अध्यक्ष चयन र आगामी कार्ययोजनालगायतका एजेण्डा बैठकमा राखिएका छन् । बैठक भोलि ११ बजे पुनः बस्ने उनले जानकारी दिए । क्रान्तिका उपलब्धिको रक्षा गर्दै शान्तिपूर्ण सङ्घर्ष र लोकतान्त्रिक विधिबाट मुलुकको आर्थिक–सामाजिक–सांस्कृतिक रूपान्तरणसहित राष्ट्रिय पूँजीको विकास गरेर सामाजिक न्याय र लोकतान्त्रिक मूल्य मान्यतासहितको समाजवादका आधार निर्माण गर्ने पार्टीको तत्कालीन लक्ष्य रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । यस्तै पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवाद रहेको उल्लेख गर्दै माक्र्सवाद–लेनिनवाद क्रान्तिकारी चरित्रको वैज्ञानिक विश्वदृष्टिकोण र श्रमजीवी वर्गको मुक्ति एवं समाज परिवर्तनको मार्गदर्शक सिद्धान्त रहेको प्रतिवेदनमा बताइएको छ ।
डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने सत्तारुढ गठबन्धनमा सहमति काठमाडौं । लामो समयसम्म सरकार विस्तार गर्न नसकेका प्रधानमन्त्री शेरबहादुर देउवाले परराष्ट्रमन्त्रीमा डा. नारायण खड्कालाई नियुक्त गर्ने तयारी गरेका छन् । संयुक्त्त राष्ट्रसंघकाे महासभामा नेपालले प्रतिनिघिसमेत छन्न नसकेकाे बेला  रुढ गठबन्धनका शीर्ष नेताहरुबीच मंगलबार साँझ भएको छलफलमा परराष्ट्रमन्त्री नियुक्तिकाे तत्काल अावश्यकता परेकाेबारे सहमति जुटेकाे बताइएकाे छ । दलका नेताहरूबीच साे मन्त्रालय नेपाली कांग्रेसकाे भागमा पार्नेबारे पनि सहमति भएकाे स्राेतले बताएकाे छ । साे पदमा देउवाले निकटस्थ मानिएका सांसद नारायण खड्का लाइ नियुक्त गर्ने तयारी गरेका छन् । याे कुराकाे जानकारी देउवाले दलहरूबीचकाे बैठकमै पनि दिएकाे बताइएकाे छ । देउवाकाे हताराे हेर्दा खड्काकाे नियुक्ति तत्काल हुने देखिएकाे स्राेतकाे दावी छ । कांग्रेसमा कुनै गडबढी भएन भने खड्काकाे शपथ ग्रहणा भाेलि नै पनि हुन सक्छ । सरकार विस्तारका लागि मन्त्रालय भागवण्डाबारे थप छलफल अावश्यक रहेकाे भन्दै  भोलि पनि शीर्ष नेताहरूकाे बैठक बस्दै छ ।
४० किलो चाँदीसहित रौतहटबाट एकजना पक्राउ काठमाडौँ । रौतहटको गौरबाट प्रहरीले ४० किलो चाँदी सहित सर्लाहीको मलंगवा घर भएका ३५ वर्षीय विद्यानन्द माझीलाई पक्राउ गरेको छ । प्रहरीले विभिन्न सवारी साधन तथा पैदल यात्रीहरु समेतलाई रोकी चेक जाँच गर्ने क्रममा बस काउण्टरबाट दुबै हातमा कालो रंगको झोला बोकी पश्चिम तर्फ आउँदै गरेका सोनारलाई चेक जाँच गर्दा दुबै झोलामा कार्टुन भित्र सिलबन्दी गरिएको सेतो रंगको प्लाष्टिक भित्र चाँदीका स–साना टुक्राहरु फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरिक्षक विनोद घिमिरेले जानकारी दिए। गौरस्थित नयाँ बसपार्कमा प्रहरीले चेकजाँच गर्दा उनको साथमा ४० केजी चाँदी फेला परेको थियो । सोको आजको मूल्य ३९ लाख ४४ हजार रहेको प्रहरीले जानकारी दिएको छ ।
सर्पको टोकेपछि एक बालकको मृत्यु काठमाडौँ । बागलुङको बरेङ गाउँपालिका–३ नयाँ बजारका अनुप खत्रीलाई सर्पले डसेर मृत्यु भएको छ । सर्पले टोकेर घाईते खत्रीलाई उपचार गर्न गुल्मी लैजाने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको छ । पठनपाठनको लागि विद्यालय गएका मृतक खत्रीलाई कक्षा कोठामा सर्पले टोकेको प्रहरी सहायक निरीक्षक अमृत कुँवरले जानकारी दिए । सुरुमा केले टोक्यो भन्ने थाहा भएन । कक्षा कोठाबाट सर्प बाहिर निस्केपछि मात्र सर्पले टोकेको पहिचान भएको थियो । बिरामी जटिल हुँदै गएपछि नजिकको स्वास्थ्य चौकीमा जाँदा खत्रीको शरीरमा अक्सिजनको मात्रा कमी देखिएको थियो । गुल्मी शान्तिपुरको एक अस्पतालमा लगे पनि उपचार हुन नसकेपछि मृत्यु भएको हो । रिमबहादुर खत्रीको पाँच वर्षीय छोरा  जनता प्राविको कक्षा एकमा अध्ययनरत विद्यार्थी हुन ।
प्रक्रिया पूरा नगरी दुई कर्मचारी भर्ना काठमाडौँ । मालपोत कार्यालय सुर्खेतले विज्ञापन र प्रतिस्पर्धा नगराई कम्प्युटर अपरेटरमा प्रकाश शर्मा र कार्यालय सहयोगीमा कमलबहादुर शाहीलाई नियुक्त गरेको छ । शर्मा यसअघि करार सेवामा कम्प्युटर अपरेटरको रुपमा मालपोत कार्यालयमा कार्यरत थिए । शर्मासहित सुनीता चन्द, सुमित्रा चपाइँ र लेखा ज्ञवाली गत फागुनमा करार सेवामा कम्प्युटर अपरेटरमा नियुक्त भएका थिए । चारै जनाको करार अवधि असार मसान्तमा सकिएको थियो । शर्मा निमित्त कार्यालय प्रमुखको भाइ पर्ने व्यक्ति हुन् भने शाही लेखापाल राजबहादुर हमालको गाउँका हुन् । विगतमा विज्ञापन गरेर कर्मचारी राख्दा राजनीतिक दबाब आएको भन्दै उनले यस पटक विज्ञापन नगरिएको  निमित्त प्रमुख हमालले भने ।
विश्वकै उत्कृष्ट १० मा पर्यो चाँगुनारायण नगरपालिका, अन्य कहाँका ? काठमाडौँ  । संयुक्त राज्य अमेरिकाको न्युयोर्क विश्वविद्यालय स्कुल अफ इञ्जिनीयरिङअन्तर्गत सञ्चालित द गोभल्याबको ओपन सिटी इन्क्युबेटर कार्यक्रममा भक्तपुरको चाँगुनारायण नगरपालिका विश्वकै उत्कृष्ट १० नगरपालिकाभित्र पर्दै उपाधि हासिल गरेको छ । अन्तर्राष्ट्रिय जगत्मा नेपालको तर्फबाट यस प्रकारको उपाधि जित्ने चाँगुनारायण नगरपालिका पहिलो भएको नपाका सूचना प्रविधि अधिकृत सिद्धान्त न्यौपानेले जानकारी दिए । ओपन सिटी इन्क्युबेटरमा सहभागी भएर यो उपाधि जित्ने चाँगुनारायण नगरपालिका नेपालकै पहिलो नगरपालिका भएको उनको भनाइ छ । नेपालको नगरपालिकाबाट सहभागिता जनाउने न्यौपाने यस कार्यक्रमको लागि पहिलो सहभागीसमेत हुन् । नगरपालिकाको तथ्याङ्क व्यवस्थापन एवं खुला तथ्याङ्क प्रणालीकोे क्षेत्रमा संसारका उत्कृष्ट १० सहरको छनोटमा चाँगुनारायण नगरपालिका परेको र नगरपालिकाको तर्फबाट सूचना प्रविधि अधिकृत न्यौपाने सहभागिता जनाउने गरी छनोटमा परेको नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले जानकारी दिए । चाँगुनारायण नगरपालिकाले विकास गरेको नेपालकै पहिलो ओपन डाटा प्लेटफार्मको कारण यो उपाधि हासिल गरेको उनले जानकारी दिए । चाँगुनारायण नगरपालिकासँगै अमेरिकाको सिटी अफ न्यूयोर्क, क्यानडाको सिटी अफ विन्निपेग, इजराइलको वियर सिभा, अमेरिकाको सिटी अफ अल्बिकियु, अमेरिकाको सिटी अफ स्यरक्यूस, रोमानियाको तिमिसोअरा, अर्जेन्टिनाको मिनडोजा सिटी, अमेरिकाको मिसोउरी, इक्वेटरको सिटी अफ ग्युएक्युल उत्कृष्ट १० मा पर्न सफल भएका छन् । ओपन सिटी इन्क्युबेटर कार्यक्रममा छनोट हुने सहरले आगामी छ महिनासम्म संसारका विश्व प्रसिद्ध डाटा विज्ञबाट दिइने तालिममा समेत सहभागी भई आफ्ना डाटासम्बन्धी गतिविधि एवं कार्यक्रमलाई अन्तर्राष्ट्रियस्तरको मापदण्डअनुसार तयार पार्नेछ । कार्यक्रममा छनोट भएका सहरको घोषणा सोमबार न्युयोर्कस्थित एक भर्चुअल कार्यक्रममार्फत गरिएको नपाका सूचना प्रविधि अधिकृत न्यौपानेले जानकारी दिए । नेपालजस्तो विकासोन्मुख राष्ट्रको एउटा चाँगुनारायण नगरपालिकाले खुला तथ्याङ्क प्रविधिको क्षेत्रमा राखेको सोच एवं गतिविधिले यस क्षेत्रमा कार्य गर्ने सम्पूर्णमा उत्साहित बनाएको ओपन सिटी इन्क्युबेटरका कार्यक्रम सञ्चालक एन्ड्रिइन्नी स्हमोकरले बताएको उनले जानकारी दिए । सूचना प्रविधि अधिकृत न्यौपानेले भने, “माइक्रोसफ्ट, मास्टरकार्ड सिटी पोसिबल, लुमिइन्ट, एनवाइयु सियुएसपी, द पब्लिक सेक्टर नेटवर्कजस्ता विश्व विख्यात कम्पनीद्वारा सञ्चालित कार्यक्रम हो, यो ।” ओपन सिटी इन्क्युबेटर विश्वभरका सहरबाट उत्कृष्ट डाटा आविष्कार सफलता र मापनलाई समर्थन गर्ने महत्वपूर्ण कार्यक्रम भएको उनको भनाइ छ । उनका अनुसार यस कार्यक्रममा छनोट हुने सहरका १० अधिकारी एवं सल्लाहकारलाई प्रशिक्षण एवं अन्तर्राष्ट्रियस्तरमा आफ्नो विचारको लागि पहुँचको उपयोग गर्ने, विभिन्न सहरी चुनौतीको सामना गर्न, अत्याधुनिक काममा सक्षम बनाउनेछ र अधिकारीलाई डाटा सहयोगी, डाटा साझेदारी सम्झौता एवं अन्य प्रणाली विकास गर्न सशक्त बनाउने छ ।
सरकारकै संरक्षणमा गुण्डागर्दी मौलायो काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारकै संरक्षणमा मुलुकमा गुण्डागर्दी भइरहेको आरोेप लगाएका छन् । अनेरास्ववियूको नयाँ नेतृत्वको शपथग्रहणका लागि मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले प्रहरी परिचालन गरेर आफ्ना पार्टी निकट विद्यार्थी संगठन, युवा संगठन र कर्मचारी संगठनको कार्यालयमा गुण्डागर्दी गरेको भन्दै त्यसको प्रतिवादमा उत्रन पनि पार्टी निकट अनेरास्ववियूका नेता, कार्यकर्तालाई निर्देशन दिए। ओलीले जनताले भयरहित ढंगले जीवनयापन गर्न चाहेको र त्यसविरुद्ध सरकार लागे प्रतिवादमा उत्रनुको विकल्प नरहेको बताए । ओलीले सरकारले जनतालाई दुःख दिने काम मात्रै गरेकाले आफूहरूले आपत्ति जनाउनुपरेको बताए ।
१९ वर्ष जेल बसेर छुटेपछि फेरि चरेस कारोबार काठमाडौं । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले हस्तकलाका सामग्रीभित्र लागुऔषध चरेस राखेर ओसारपसार गर्दै आएको नौ जनालाई पक्राउ गरेको छ। ब्युरोले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी हस्तकलाका सामग्रीभित्र चरेस राखेर ओसारपसार गर्दै आएकाहरुलाई सार्वजनिक गरेको छ। उनीहरूको साथबाट कतार पठाउन हस्तकलाको सामानमा प्याक गरी राखेको सात केजी ६ सय १४ ग्राम चरेस बरामद गरिएको ब्युरोका प्रमुख एसएसपी हृदय थापाले जानकारी दिए। म्याग्दीका श्यामप्रसाद रोका, वीरबहादुर रोका, दिलबहादुर रोका, धादिङका अनिलबहादुर घले, सुनबहादुर गुरुङ, याङकी भनिने जितबहादुर तामाङ, माइला भनिने कृष्णबहादुर तामाङ, नुवाकोटका सेसे भनिने उर्पा तामाङ र वीरबहादुर तामाङलाई ब्युरोले सार्वजनिक गरेको हो। हाते कागजका डायरीहरूमा चरेस बरामद गरेर कतारलगायतका मुलुकमा सो गिरोहले पठाउने गरेको पाइएको ब्युरोले जनाएको छ। यसअघि उनीहरूले यसरी नै अचारको भाँडोमा समेत चरेस राखेर भारत हुँदै हङकङ, थाइल्यान्ड, टर्कीलगायतका देशहरूमा लागुऔषधहरू ओसारपसार गर्दै आएको पाइएको एसएसपी थापाले बताए। पक्राउ परेका उनीहरूलाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
यती एयरको २३ वर्ष पूरा काठमाडौं । सन् १९९८ को सेप्टेम्बर २१ बाट निजी क्षेत्रबाट सञ्चालित वायुसेवा कम्पनी यति एयरलाइन्सले उडानको २३ वर्ष पूरा गरेको छ। स्थापनाको सुरुमा यातायात सञ्जाल नजोडिएका हिमाली क्षेत्र र कर्णालीका बासिन्दालाई खाद्यान्न, औषधी, लत्ताकपडालगायत सामग्री ढुवानी गर्दै आएको यतीले पछिल्लो समय अन्तर्राष्ट्रिय स्तरमा समेत आफ्नो सञ्जाल बढाउँदै लगेको एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत ९सिईओ० अनोज रिमालले जानकारी दिए। ‘यती र तारा एयरका साहसी पाइलट एवं आत्मविश्वासी चालकदल, दक्ष प्राविधिक, कर्मठ कर्मचारी, साझेदार सङ्घसंस्थाहरुको लगन, मेहनत, इमान्दारी तथा यात्रुहरुको विश्वासले एयरलाइन्सले गौरवमय २३ वर्ष पुरा गर्न सफल भएको छ,’ सिइओ रिमालले भने। यती एयरलाइन्सले २३औँ वार्षिकोत्सवको अवसरमा ग्राहकवर्गलाई थप सहजता प्रदान गर्ने उद्देश्यले रिजर्भेसन सेन्टरलाई अपग्रेड गर्दै आजबाट कल सेन्टरको औपचारिक शुभारम्भ गरेको छ।
कञ्चनपुरमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने भारतीय नागरिक पक्राउ काठमाडौं । कञ्चनपुरमा सोमबार (हिजो) साँझ सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने भारतीय नागरिक पक्राउ परेका छन् । उनलाई नेपाली प्रशासनको समन्वयमा भारतीय प्रहरीले पक्राउ गरेको हो । नेपाल–भारत सीमास्थित दोधाराचाँदनी नगरपालिका–८ को कञ्जभोजमा सोमबार साँझ सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने अर्जुन कुमारलाई भारतीय प्रहरीले पक्राउ गरेको स्थानीय प्रशासनले जनाएको छ ।कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले कुमारलाई पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाएको बताए । गस्तीमा खटिएका बेला भारतीय तस्करको समूहले ढुङ्गामुढा गर्दा सशस्त्र प्रहरीका तीन जवान घाइते भएका थिए । घाइते बीओपी दोधाराचाँदनीमा कार्यरत सुदीप सुनारसहितका उनीहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
ढुङ्गा प्रहार गरी बेहोस बनाएर सुन लुटियो काठमाडौं । पोखरा–३२ बडहरे घर भएकी ४८ वर्षीया मरियम गुरुङमाथि घाँस काट्न जाने क्रममा ढुङ्गा प्रहार गरी बेहोस बनाएर सुन लुटिएको छ । उनका श्रीमान् धनमान गुरुङका अनुसार घरबाट करिब एक सय मिटरको दुरीमा रहेको बारीमा घाँस काट्न गएकी मरियमको छातीमा ढुङ्गाले प्रहार गरी बेहोस बनाइएर उनले कानमा लगाएको एक तोलाको सुनको मुन्द्रा लुटिएको हो । ढुङ्गा प्रहारबाट बेहोस भएकी मरियमलाई स्थानीयले देखेपछि परिवारलाई खबर गरेका थिए । उनको अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । यता, मरियमले लुटेराको हातमा चक्कु पनि देखेको बयान दिएको प्रहरीले जनाएको छ । उनले लुटेराले रातोमा सेतो धर्का भएको सर्ट लगाएको बताएकी छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् डिएसपी सुवास हमालले घटनाबारे अनुसन्धान भइरहेको बताएका छन् ।
कुलमानलाई काम गर्ने बाटो खुल्यो, सर्वोच्चले दिएन अन्तरिम आदेश काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरिएपछि हितेन्द्रदेव शाक्य सर्वोच्च अदालत पुगेका थिए। कुलमान आउनुअघि शाक्य प्राधिकरणको कार्यकारी निर्देशक थिए।प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासले अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्था नरहेको ठहर गरेको हो। ८ भदौमा मिसिल झिकाउने आदेश दिएका उनले मंगलबार कारण देखाउ र अन्तरिम आदेश जारी नहुने आदेश सुनाएका हुन् । यससँगै यो मुद्दाको टुंगो नलागेसम्म कार्यकारी निर्देशक कुलमानलाई काम गर्ने बाटो खुलेको छ ।
‘न्यायाधीशलाई मानपदवी नदेऊ’ काठमाडौं । सर्वोच्च अदालत बार एसोसिएसनले न्यायपालिकालाई प्रभावित गर्ने गरी कुनै पनि प्रकारका मान–पदवी दिने गरी सिफारिस र घोषणा नगर्न÷नगराउन सरकारलाई आग्रह गरेको छ । सर्वोच्च बारका सचिव ऋषिराम घिमिरे आज जारी गरेको प्रेस विज्ञप्तिमा सो आग्रह गरिएको हो । विज्ञप्तिमा भनिएको छ, “न्यायपालिकालाई प्रभावित गर्ने गरी यस्ता प्रकारका मान–पदवी दिने गरी सिफारिस र घोषणा नगर्न÷नगराउन नेपाल सरकारको सम्बन्धित निकायसमक्ष यो बार आग्रह गर्दछ ।” संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभिन्न विभूषण, अलङ्कार र पदक प्राप्त गर्ने व्यक्तिको सूचीमा सरकारले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणासहित सर्वोच्च अदालतका न्यायाधीशहरूको नामसमेत समावेश गरेको भन्दै सर्वोच्च बारले विरोध जनाएको छ । विज्ञप्तिमा बहालवाला न्यायाधीशहरूले सरकारको कुनै निकाय वा संस्थाबाट मान–पदवी ग्रहण गर्दा विभिन्न किसिमको टीकाटिप्पणी हुने र उसले सम्पादन गर्ने न्यायमा प्रभाव पर्न सक्ने, न्यायिक स्वतन्त्रताको मूल्य मान्यतामा आँच आउन सक्ने हुँदा त्यस प्रकारका मान–पदवीहरू बहालवाला न्यायाधीशले ग्रहण गर्ने वा नगर्ने भन्ने विषयमा गम्भीर हुनुपर्ने देखिएको उल्लेख छ । न्यायपालिकाले गर्ने फैसलाबाट सरकार नै परिवर्तन हुन सक्ने अवस्थामा सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा प्रदान गरिने मान–पदवी बहालवाला न्यायाधीशलाई प्रदान गर्दा न्यायपालिकाको स्वतन्त्रतामै गम्भीर रूपमा असर पर्ने बताइएको छ । विज्ञप्तिमा भनिएको छ, “कतिपय मुद्दामा गरेका फैसलाबाट सरकारसमेत परिवर्तन हुने गरेका छन्, यस्तो अवस्थामा नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा प्रदान गरिने मान–पदवी, पुरस्कार बहालवाला न्यायाधीशलाई प्रदान गर्दा न्यायपालिकाको स्वतन्त्रतामा गम्भीर रुपमा असर पुग्न सक्छ ।”
एमालेको विधान महाधिवेशनका लागि तीनवटा प्रतिवेदनमाथि छलफल, केन्द्रीय कमिटीमा लैजाने काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको हिजो आइतबारदेखि सुरु भएको स्थायी कमिटी बैठक सोमबार साँझ सम्पन्न भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको स्थायी कमिटीको बैठकमा विधान महाधिवेशनका लागि स्थायी कमिटी सदस्यहरुले लिखित र मौखिकरुपमा सुझावहरु राख्ने काम सम्पन्न भएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए । असोज १५, १६ र १७ गते आयोजना हुन गइरहेको एमाले विधान महाधिवेशनका लागि विधान संशोधन सम्बन्धको प्रस्ताव, सांगठानिक प्रस्ताव र राजनीतिक प्रतिवेदनसम्बन्धि प्रस्तावमाथि प्रस्तुत भएका सुझावहरुसहितको प्रतिवेदन एमालेको असोज ८ र ९ गतेको केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत हुने भट्टराईले बताए । एमाले स्थायी कमिटीको बैठकले विधान महाधिवेशन भव्यताका साथ सम्पन्न गर्ने निर्णय गरिएको उनको भनाइ छ । आगामी विधान महाधिवेशनमा संघीय संरचना अनुरुपको व्यवस्थापन गरिनुपर्ने, केन्द्रीय कमिटी, अध्यक्षलगायतको अधिवेशन गर्नुपर्ने विषयमा छलफल भएको भट्टराईले जानकारी दिए।
कालीगण्डकीमा हाम फालेर पुरुष बेपत्ता काठमाडौं । कालीगण्डकीको पुट्टारघाट पुलबाट हाम फालेर एक व्यक्ति बेपत्ता भएका छन् । तनहुँ घिरिङ गाउँपालिका–१ पुट्टार निवासी अन्दाजी ४८ वर्षीय विष्णुभक्त सिग्देल आज दिउँसो करिब ३ बजेको समयमा पुलबाट हाम फालेर बेपत्ता भएका हुन् । पाल्पा रामपुर बेझाड बजारमा होटल व्यवसाय गर्दै आएका सिग्देल आइतबारमात्रै पुट्टारस्थित घरमा गएको पारिवारिक स्रोतले जनाएको छ । पुट्टारघाटको झोलुङ्गे पुलपारि (तनहुँतिरको भागमा) आफूले प्रयोग गरेको मोटरसाइकल, चाबी, बिलबुक, पर्ससमेत फेला परेको प्रहरी चौकी पुट्टारका प्रमुख पदमबहादुर कुमालले जानकारी दिए । नदीमा बेपत्ता भएका सिग्देलको खोजी जारी रहेको स्थानीयवासी नारायण सिग्देलले बताए ।
रसुवा कारागारबाट पाँच जनाले आममाफी पाए काठमाडौं । संविधान दिवसका अवसर पारेर रसुवा कारागारमा रहेका ५ जना कैदीको सजाय मिनाहा गरिएको छ। रसुवाका ५ जना कैदीको सजाय मिनाहा भएको जिल्ला कारागार रसुवाले जानकारी दिए। निमित्त जेलर साङतेम्वा तामाङका अनुसार बहुविवाह,चोरी,कर्तव्य ज्यानका कारण जेल जीवन बिताइरहेका ५ जनालाई संविधान दिवसको अवसरमा आममाफी दिएका हुन् । रिहा हुनेहरूमा थुमी ७ गोरखाका कर्तव्य ज्यान मुद्दाका ३८ वर्षीय भरत खत्री, पाँचखाल ७ काभ्रेका चोरी मुद्दाका ३३ वर्षीय सरोज तिमिल्सिना, नुवाकोटको भद्रुटारका कर्तव्य ज्यान मुद्दाका ४० वर्षीय फुलमान तामाङ, सोही ठेगाना भई सोही मुद्दाका दोषी ४१ वर्षीय रामबहादुर तामाङ, र खैरहनी–३ चितवन घई भई बहुविवाहको मुद्दामा वन्दी जीवन बिताइरहेकी २६ वर्षिया प्रियंका सुवेदी रहेकी छन् ।
मान्छे ओसार्ने बसमा लागुऔषध काठमाडौं । नियन्त्रित लागूऔषध सहित एक युवक पक्राउ परेका छन् । चन्द्रागिरी नगरपालिका २ नागढुंगाबाट नियन्त्रित लागूऔषध डाईजोपाम ८ एम्पुल, फेनरागन ८ एम्पुल र नुफिन ८ एम्पुल सहित सिरहा लहान नगरपालिका ४ बस्ने २६ वर्षीय आनन्द प्रसाद दासलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो । सिरहाबाट काठमाडौं आउँदै गरेको प्रदेश ०१–०२–००१ ख ८८६९ नम्बरको बसलाई नागढुंगास्थित चेकप्वाईन्टमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
रेडपाण्डाको दुई थान छालासहित पक्राउ काठमाडौं । प्रहरीले रेडपाण्डाको दुई थान छालासहित पक्राउ एक जनालाई पक्राउ गरेको छ। नलगाड नगरपालिका ५ कालिमाटीस्थित होटलबाट रेडपाण्डाको जस्तो देखिने २ थान छालासहित बारेकोट गाउँपालिका ५ नायकबाडा बस्ने १९ वर्षीय लोकेश परियारलाई प्रहरीले पक्राउ गरेको हो । उक्त होटलमा रेडपाण्डा जस्तो देखिने जनावरको छाला रहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दल्लीबाट खटिएको प्रहरीले होटलको १ सय २ नम्बर कोठा तालसी गर्दा परियारलाई उक्त छाला सहित फेला पारी पक्राउ गरेको हो। बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दल्लीबाट खटिएको प्रहरीले होटलको १ सय २ नम्बर कोठा तालसी गर्दा परियारलाई उक्त छाला सहित फेला पारी पक्राउ गरेको बताइएको छ ।
डा. केसी प्रदर्शनमा सहभागी हुन अमेरिका पुगे काठमाडौं । चिकित्सा शिक्षाका अभियन्ता प्रा.डा. गोविन्द केसी अमेरिकामा हुने शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन अमेरिका पुगेका छन्। विश्व शान्ति दिवसका अवसरमा डा.केसी आज अमेरिका प्रस्थान गरेका हुन् । सोलिड्यारिटी फर डा.केसी एलाइन्स फर अमेरिकाका संयोजक सामाजिक अभियन्ता शिव प्रकाशका साथ उनी अमेरिकाको बोस्टन शहर पुगेका हुन् । २१, सेप्टेम्बरमा संयुक्त राष्ट्र संघको महासभा बस्ने दिन विश्वमा फैलिएको द्वन्द, पर्यावरणीय विनाश, सबैका लागि स्वास्थ र शिक्षा तथा कोभिडको खोपका विषयमा विश्वको ध्यानाकर्षण गराउने उदेश्यले राष्ट्र संघको मुख्यालय भवन नजिकैको क्षेत्रमा शान्तिपूर्ण प्रदर्शन गर्न लागेको केसीले विज्ञप्ति मार्फत जनाएका छन् । विश्वमा चलेको द्वन्द्व र युद्धको अन्त्यका लागि अहिंसाको सन्देश दिदैं शान्ति स्थापनाका लागि ध्यानाकर्षण गराउँने उदेश्यले डा केसीको अगुवाइमा सेप्टेम्बर २० र २१ तारिखको १ देखि ४ बजेसम्म संयुक्त राष्ट्र संघको मुख्यालय, न्यूयोर्क, अमेरिकामा शान्तिपूर्ण प्रदर्शन हुने भएको छ।
कैलालीमा ६ जना कैदीको सजाय मिनाहा काठमाडौं ।संविधान दिवसका अवसर पारेर कैलाली कारागारमा रहेका ६ जना कैदीको सजाय मिनाहा गरिएको छ। कैलालीका  ६ जना कैदीको सजाय मिनाहा भएको जिल्ला कारागार कैलालीले जानकारी दिए। संविधान दिवसको अवसरमा देशभरमा ५३१ जना कैदीलाई थुनामुक्त गर्ने निर्णय गरिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा ५३१ जनाको कैद कट्टा गरी माफी मिनाहा गरेकी हुन्। सोहीअनुसार कैलाली कारागारमा रहेका ६ जनाको कैद मिनाह गरिएको हो। कैलाली कारागारमा रहेका खेमा कुमारी अर्याल देवकोटा, चक्रबहादुर चौधरी, प्रेम सिंह साउँद, रामप्रसाद राना, कृष्ण कुमार चौधरी र कृष्ण शर्मा तिवारीको कैद सजाय मिनाहा भएको जिल्ला कारागार कैलालीका निमित्त जेलर बिरेन्द्र बहादुर बोहराले बताए। ५० प्रतिशत कैद भुक्तान गरेका ६ जनाको बाँकी कैद मिनाहा गरिएको उनले बताए।
नेपाल निजामती कर्मचारी संगठनमा गौतम काठमााडौं । नेपाल निजामती कर्मचारी सङ्गठनले रेवन्त गौतमको नेतृत्वमा १३९ सदस्यीय केन्द्रीय कार्य समिति गठन गरेको छ । यही असोज २ गते काठमाडौंमा बसेको राष्ट्रिय भेलाले ११६ केन्द्रीय सदस्य, १७ पदाधिकारी, जिल्ला विभागका साथै लेखा, अनुशासनलगायत आयोग गठन गर्ने निर्णय गरेको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा सङ्गठनका अध्यक्ष गौतमले विधमान उपलब्धिको रक्षा गर्दै कर्मचारीको अधिकारका लागि क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे । सङ्गठनका नवनिर्वाचित महासचिव शरणकुमार गुरुङले तत्कालीन सरकारले गरेको कर्मचारी समायोजनलाई सच्याउन माग गर्दै सेवा प्रवाहलाई चुस्तदुरुस्त, निष्पक्ष, तटस्थरुपबाट सञ्चालन गर्नुपर्नेमा जोड दिए । भेलाले सङ्घ, प्रदेश तथ स्थानीय तहमा ट्रेड युनियन अधिकारको सुनिश्चितताका लागि सम्बन्धित पक्षको ध्यानाकर्षण गराउने, सङ्घीय निजामती ऐन, प्रदेश निजामती सेवा ऐन र स्थानीय सेवा ऐन तत्काल जारी गराउन पहल गर्ने, कर्मचारीको पिरमर्का र गुनासो सम्बन्धित पक्षसम्म पुर्‍याउने निर्णय गरेको छ । भेलाले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको केन्द्रीय अध्यक्ष पुण्यप्रसाद ढकाल र सदस्य छत्रबहादुर शाह उपसचिव भई उक्त पद रिक्त भएकाले सो पदमा युनियनको विधान, २०६९ बमोजिम मोहनकुमार घिमिरेलाई अध्यक्ष र जयदेव जोशीलाई सदस्य पदमा प्रतिनिधित्व गर्न पठाउने निर्णय गरेको छ ।
“असोज तीन, कालो दिन !” काठमाडौं । संविधान दिवसको अवसरमा आइतबार नागरिक आन्दोलनले माइतीघर मण्डलदेखि संघीय संसद् भवन नयाँ बानेश्वरसम्म मार्च गरेको हो। संविधानका केही धारा विभेदकारी रहेको जनाउँदै नागरिक आन्दोलनले संशोधन गर्नुपर्ने माग गरेको छ। सभामा विभिन्न समुदायबाट प्रतिनिधित्व गर्दै विभिन्न वक्ताहरूले बोलेका थिए। उनीहरूले अहिलेको संविधान कसरी विभेदकारी छ भन्नेबारे बताएका थिए। सभामा सहभागीहरूले ‘असोज तीन, कालो दिन’, नश्लीय संविधान मुर्दावादलगायतका नारा लगाएका थिए। प्रदर्शनकारीहरूले यस्ता विभिन्न नारा लेखिएका प्ले कार्डहरू पनि बोकेका थिए।
आरोपीलाई पक्राउ गर्न खोज्दा झडप, ५ प्रहरी घाइते काठमाडौं । पूर्वी चितवनको राप्तीमा शुक्रबार राति ५९ वर्षीय कान्छा लामाको हत्या भएको छ । राप्ती नगरपालिका ९ शीतलपानीका लामाको हत्या आरोपित छिमेकी ५० वर्षीय दशरथ मल्ललाई नियन्त्रणमा लिने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको थियो । झडपमा प्रहरी निरीक्षक रोशन खड्कासहित पाँचजना प्रहरी र दुईजना स्थानीय घाइते भएका जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी ओम अधिकारीले बताए । शुक्रबार राति ९ः४५ बजे बाटोमा हिँडिरहेका लामालाई मल्लले रड प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । पुरानो रिसईबीका कारण मदिरा सेवन गरी मल्लले लामाको हत्या गरेको एसपी अधिकारीले बताए । हत्या आरोपीलाई नियन्त्रणमा लिने क्रममा स्थानीयले ढुंगामुढा गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाईफायर र अश्रुग्याँस प्रहार गर्नु परेको अधिकारीको भनाइ छ । घाइते प्रहरी निरीक्षक खड्काको आँखामा चोट लागेको छ भने अन्यको अवस्था सामान्य रहेको छ । राति नै अभियुक्त मल्ल र शवलाई भरतपुर ल्याइएको छ ।
ट्रेकिङ गाइडका लागि सहुलियतपूर्ण ऋण लिन आवेदन खुल्यो काठमाडौं । नेपाल पर्यटन बोर्डले कोभिडका कारण रोजगारी गुमाएका ट्रेकिङ गाइडहरुका लागि सहुलियतपूर्ण ऋण प्रदान गर्ने भएको छ । बोर्डले सूचना सार्वजनिक गर्दै रोजगारी गुमाएका ट्रेकिङ गाइडहरुका लागि सहुलियतपूर्ण ऋण लिन ७ दिनको समय तोकी आवेदन खुल्ला गरेको हो। पत्रयात्रा तथा पर्वतीय पर्यटन श्रमिक कल्याणकारी खाता सञ्चालन, व्यवस्थापन तथा ऋण परिचालन समितिको सचिवालय नेपाल पर्यटन बोर्डले गाइडहरुले ऋण लिनुपूर्व पुरा गर्नुपर्ने शर्तहरु तोकेको छ । जस अनुसार ट्रेकिङ गाइड लाइसेन्स लिएको हुनुपर्ने, कोभिड १९ महामारीपूर्व कम्तीमा ३ वर्ष ट्रेकिङ कम्पनीमा कायर्रत रहेको हुनुपर्ने, गाइडले संचालन गर्ने व्यसायको परियोजना प्रस्ताव पेश गर्नुपर्ने छ । गाइडहरुले ऋण लिनुपूर्व पुरा गर्नुपर्ने शर्तहरु निम्नानुसार हुनेछन् : (१) ट्रेकिङ गाइड लाइसेन्स लिएको हुनुपर्ने (२) कोभिड-१९ महामारीपूर्व कम्तीमा ३ वर्ष ट्रेकिङ कम्पनीमा कायर्रत रहेको हुनुपर्ने। (३) गाइडले संचालन गर्ने व्यसायको परियोजना प्रस्ताव पेश गर्नुपर्ने ।
संविधान कार्यान्वयनको पक्षमा केही उदासिनता देखिएको छः डा. महतो काठमाडौं । वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र महतोले वर्तमान संविधानलाई संशोधन गर्नुपर्ने भएपनि यसको विकल्प खोज्न नहुने टिप्पणी गरेका छन् । उनले भने,‘यो रगतको छिटामा यो संविधान जारी भएको हो । यो कुरा हामीलाई थाहा नै छ । समानुपातिक–समावेशीताको सवालमा केही समेट्न खोजिएको हो। जनसंख्याको आधारमा निर्वाचन क्षेत्र पनि राखिएको छ, मधेशवादी दलहरुले संविधानमाथि पूर्ण अपनत्व देखाएका छैनन् । अहिले उहाँहरुबाट कालो दिवस मनाउने क्रम जारी छ ।’ नेपालको संविधान–२०७२ युगानतकारी रहेको उनको भनाई छ । उनले भने,‘संघीयता र गणतन्त्रको मामिलामा युगान्तकारी छ । संविधानसभामा रहेका दलहरुले जनतालाई धेरै विश्वास दिलाएका थिए । राजनीतिक समस्या समाधान भयो, अब जनताका जनजिविकाको कुरा उठाउने भनेर । प्रदेशहरु असफल भएका छन् । संघपनि असफल भएको छ । ईमानदारितापूर्वक प्रदेश र स्थानीय तह बलियो होस भनेर संघले अधिकार प्रत्यायोजना गरेको छैन् ।’ उनले संविधानको कार्यान्वयनको पक्षमा केही उदासिनता देखिएको बताए । उनले भने,‘कार्यान्वयन गर्ने निकाय उदार हुनुभएन । देशको भन्दापनि दलगत स्वार्थ, दलभित्रपनि व्यक्तिगत स्वार्थ र दलमा पनि आफ्नो गुटको स्वार्थमा लाग्नुभएको हो । दलहरु विस्तारै गुट र गिरोहमा रुपान्तरण हुने क्रमको प्रारम्भ भएको छ । अहिले पनि धेरै समय बाँकी छ । अलिहेको सन्दर्भमा, न्यायापालिकाको साख पनि तिव्र गतिमा ह्रास हुँदै आएको छ ।’ उनले संविधानलाई परिमार्जन गर्नुपर्नेमा जोड दिए । तर, संविधानलाई विकल्पको रुपमा हेर्न नहुने उनको तर्क छ । उनले भने,‘अहिले जनतामा नैराश्यता छाएको छ। मधेशवादी दलहरुको मागलाई सम्बोधन गर्नुपर्छ । यो संविधान अहिलेपनि पूर्ण छैन् । संशोधन गर्ने ठाउँ छ । सुधार गर्दै जाने हो । दलका नेताहरुले व्यवहार र सोच मात्रै पनि परिवर्तन गर्ने हो भने, जनहितलाई केन्द्रमा राख्ने हो भने संविधान सफल हुन्छ ।’
सेवामैत्री कर्मचारी प्रशासन नै आजको आवश्यकता हो : कर्मचारी सङ्गठन काठमाडौं । सङ्गठनको कुनै पनि हैसियतमा नरहेका व्यक्तिहरुले अनधिकृतरूपमा हल्ला गरेको भन्दै नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनले आपत्ति प्रकट गरेको छ । सङ्गठनका अध्यक्ष हरिबहादुर रावलले सङ्गठनको हितविपरीत काम गरेपछि गत चैत १६ गते नै कारबाहीमा परेका व्यक्तिले सङ्गठनको एकता र प्रवेशको प्रचार गरेको बताए । सङ्गठनले ट्रेड युनियनको मूल्य र मान्यताविपरीत गएर पद र सङ्ख्याको हल्ला गरेको, जिम्मेवारीमा नै नरहेकाले त्यस्तो प्रचार गराउनुको कुनै तुकसमेत नभएको अध्यक्ष रावलले जानकारी दिए । सङ्गठनको जिम्मेवारी र पदीय आचरणविपरीत काम गरेको भन्दै उपाध्यक्ष अम्बिका धमला र प्रभातप्रसाद साहसहितलाई गत चैत १६ गते नै कारबाही गरिएको अध्यक्ष रावलले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । सार्वजनिक प्रशासनमा रहेको अर्थवादी ट्रेड युनियन प्रवृत्तिलाई विस्थापित गरी सामाजिक चेतनायुक्त आजको समस्या समाधान गर्ने कर्मचारी एवं सेवामैत्री कर्मचारी प्रशासन नै आजको प्रमुख कार्यभार रहेको उनको भनाइ छ । “हाम्रो सङ्गठनसँग असम्बन्धित व्यक्तिको नाम जोडेर भ्रम सिर्जना गर्ने काम कोही कसैबाट पनि नहोस्”, अध्यक्ष रावलले भने ।
लोकप्रिय गायिका विष्णु माझीलाई विभुषण प्रदान गरिदैँ काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीतमा सर्वाधिक चर्चित र लोकप्रिय गायिका विष्णु माझीलाई सरकारले विभुषण प्रदान गर्ने भएको छ । सरकारले हरेकवर्ष संविधान दिवसका अवसरमा राष्ट्रिय हितमा योगदान गरेका विभिन्न क्षेत्रका दिग्गजलाई विभुषणबाट सम्मान गर्दै आएको छ । उक्त विभुषण राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रदान गरिने तय भएको छ । विभुषण प्रदान गर्ने सूचिमा उनको पनि नाम समावेश रहेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ । त्यस्तै नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङ, नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल र नायिकामा भने केकी अधिकारीलाई पनि विभुषण प्रदान गरिने भएको छ । यसपटक विभुषित हुने सम्भवतः उनी एक्ली गायिका हुन् ।
दोलखामा बसको ठक्करबाट एकको मृत्यु काठमाडौं । दोलखाको भीमेश्वर नगरापालिका वडा नम्बर ७ मकैबारीमा भएको सवारी दुर्घटनामा २४ वर्षीय सन्तोष थामी ज्यान गएको छ। दोलखाको भिमेश्वर मन्दिर दर्शन गरी काठमाडौं फर्कन लागेको बा ३ ख ४७३३ नम्बरको बस र मकैबारीबाट आउँदै गरेको बा ९७ प ७९३१ नम्बरको मोटरसाइकल भीमेश्वर नगरपालिका–७ मकैबारीमा एकापसमा ठोक्किएर दुर्घटना भएको थियो। दुर्घटनामा परी मोटरसाइकल चालक दोलखा कालिञ्चोक गाउँपालिका वडा नम्बर ९ का थामीको मृत्यु भएको प्रहरी निरीक्षक अन्जन कोइरालाले बताए। दुर्घटनामा परी भीमेश्वर नगरपालिका–१ सुस्पाक्षमावतीका ५० वर्षीया शारदा थामी र सोही स्थानका १९ वर्षीया सुजीता थामी घाइते भएका छन्।मोटरसाइकलमा तीन जना सवार रहेको र चालक थामीको मृत्यु भएको छ। घाइते दुई जनालाई थप उपचारका लागि काठमाडौं लगिएको छ। दुर्घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
आधिकारिक ट्रेड यूनियनको अध्यक्षमा घिमिरे काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनका पूर्व अध्यक्ष मोहन घिमिरे आधिकारिक ट्रेड यूनियनको अध्यक्षमा चयन भएका छन्। तत्कालीन अध्यक्ष पुन्य ढकाल उपसचिवमा बढुवा भएपछि उपाध्यक्ष भोला पोखरेल आधिकारिक ट्रेड युनियनको कार्यवाहक अध्यक्ष थिए । त्यस्तै नेपाल निजामती कर्मचारी संगठनका निवर्तमान महासचिव रेवन्त गौतम संगठन अध्यक्ष चयन भएका छन्।
रेडपाण्डाको छालासहित चार पक्राउ काठमाडौं । जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगर नगरपालिका–८ सुर्खेत खजुरास्थित मानसरोवर होटलबाट एकथान रेडपाण्डाको छालासहित चार जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालीकोटको रास्कोट नगरपालिका–८ का २८ वर्षीय मनबहादुर बुढा, दैलखको ठाँटीकाध गाउँपालिका–६ का ३३ वर्षीय विष्णु रावत, नारायण नगरपालिका–१० का २१ वर्षीय पूर्ण बस्नेत र २५ वर्षीय नरेन्द्र थापा रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाहीले जानकारी दिए। तत्काल बयानका क्रममा उनीहरूले आफूहरू छाला पुर्‍याउनमात्र आएको बताएको उनले जानकारी दिए। यसका लागि उनीहरूले ५० हजार रूपैयाँ लिने सहमति गरेको बयानका क्रममा खुलेको छ। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक शाहीले बताए।
हजुरआमाको सुन लुट्न हँसिया प्रहार गरी हत्या, शव घिसार्दै बारीमा पुरे काठमाडौं । बझाङको दुर्गाथली गाउँपालिका–५ मा कानको मुन्द्रा लुट्न नातिले ८५ वर्षीया हजुरआमालाई हँसियाले हानेर हत्या गरेका छन् । रिखीदेवी जप्रेल भदौ २७ गतेदेखि बेपत्ता थिइन्। उनका छोरा सोही वडाका अध्यक्ष रामबहादुरले उक्त कुरा प्रहरीलाई जानकारी दिए। रीखीदेवी रामबहादुर बस्ने घरभन्दा करिब १ सय मिटर टाढा रहेको घरमा २३ वर्षीय नाति सुवाससँग बस्दै आएकी थिइन् । ‘म र मेरी बज्यै (हजुरआमा) सँगै एउटै घरमा बस्थ्यौँ । भदौ २७ गते बिहान ८/९ बजेको समयमा मैले उनलाई हँसियाले हानेको थिएँ । हँसिया प्रहारपछि रगतम्य भएकी बज्यैको कानमा रहेका २ र नाकमा रहेको १ गरी ३ वटा गहना निकालें । मेरो कपडामा पनि रगत लागेको थियो । मैलै त्यो कपडा फुकालेर शौचालयमा राखेर बजार गएँ । दिउँसो बजारमा त्यो सुन बेचेर आएपछि साँझ करिब ७ बजेतिर बज्यैको शवलाई घिसार्दै बारीमा लगे र खाल्डो खनेर पुरें,’ सुवासले प्रहरीसँगको बयानमा भनेका छन् ।
६४ किलो गाँजा बरामद काठमाडौं । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ भलुबा टोलबाट प्रहरीले ६४ किलो गाँजा बरामद गरेको छ। सोही ठाउँ बस्ने कोठारी यादवको घरमा गाँजा लुकाई राखेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भारदहबाट र जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले शुक्रबार राति उनको घर तलासी गर्दा प्लाष्टिकको बोरा भित्र बरामद गरेको हो। हाल फरार यादवको प्रहरीले खोजी गरिरहेको छ। सुनसरीको कोसी गाउँपालिका–७ स्थित कोशी नदीको किनारको झारीमा बेवारिसे अवस्थामा रहेको करिब ६० केजी अवैध लागूऔषध गाँजा शुक्रबार राति प्रहरीले बरामद गरेको छ।
मलेसियाबाट एकैदिन ६ श्रमिकको शव र १५ जनाको अस्तु ल्याइयो काठमाडौं । वैदेशिक रोजगारीका लागि मलेशिया पुगि विभिन्न कारण मृत्यु भएका ६ शव नेपाल ल्याइएको छ । यसैगरी १५ जनाको अस्तु पनि नेपाल ल्याएर परिवारको जिम्मा लगाइएको छ । आज शनिबार नेपाल सरकार र मलेशियामा रहेको जनउद्धार केन्द्रकोे पहलमा मृतकको शव नेपाल ल्याएर आफन्तलाई बुझाइएको हो । कानूनी र प्रक्रियागत झन्झटले गर्दा विदेशमा मुत्यु भएका व्यक्तिको शव ल्याउन अझै सहज भएको छैन । विदेशमा मृत्यु भएकाहरुको शव ल्याउनका लागि नेपाल सरकार र त्यहाँँस्थित जनउद्धार समितिले पहल गर्दै आएको छ । सरकारले मृतकका आफन्तको घरसम्म शवबाहनमा शव पुर्याउने गर्दै आएको छ । जनउद्धार केन्द्र मलेसियाका स्वयंसेवक मुकुट रायमाझीका अनुसार २१ मृतकमध्ये एक २० वर्षअघि मलेसिया गई हालसम्म नेपाल नफर्किएकाको समेत रहेको छ। उनले परिवारका सदस्यहरुले बुबाको अनुहारै नदेखेको बताएपछि जनउद्धार केन्द्रको पहलमा शव नेपाल ल्याएको बताए। रायमाझीका अनुसार घर फर्किन विमानस्थल पुगेका उनी त्यही ढलेका थिए। उनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको थियो।
माधव र प्रचण्ड मधु-कैटव हुन्ः ओली काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड र माधव नेपाललाई मधु -कैटवको संज्ञा दिएका छन् । एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको पूर्ण बैठकलाई शनिबार सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले आगामी चुनावमा प्रचण्ड र माधवकुमार नेपालको पार्टीसँग तालमेल नगर्ने प्रष्ट पारेका हुन् । उनले कतिपयले माधव कमरेड पार्टीमा आउनुस् भन्ने गरेको भन्दै आक्रोश पोखे । ५ सिट पनि नजित्ने माओवादी केन्द्रलाई तालमेल गरेर ३६ सिट जिताउँदाको परिणाम भोगिसकेको भन्दै उनले भने, ‘प्रचण्ड र माधव गुटसँग अब तालमेल हुँदैन ।’
जसपाले संविधान दिवसको कार्यक्रममा भाग नलिने काठमाडौं । संविधान दिवसको पूर्वसन्ध्यानमा शनिबार जसपा अध्यक्ष उपेन्द्र यादवले प्रेस विज्ञप्ति जारी गरि संविधान दिवसमा सहभागी नहुने जनाएका छन्। “संविधानमा रहेका विभेदकारी एवम् त्रुटिपूर्ण प्रावधानहरू परिवर्तनका लागि उक्त दिन अर्थात् असोज ३ गते संविधान संशोधनद्वारा यसलाई सच्याउनका लागि देशका प्रमुख स्थानहरूमा ‘संविधान संशोधनको आवश्यकता’ विषयक अन्तरक्रिया आयोजना गरी उक्त संविधानमा रहेका विभेदकारी प्रावधानहरूको विरोध गर्न आम जनसमुदाय एवम् सम्पूर्ण पार्टी संगठनहरूलाई आह्वान गरिन्छ,” अध्यक्ष उपेन्द्र यादवद्वारा शनिबार जारी विज्ञप्तिमा भनिएको छ । जसपाले नेपालको संविधान २०७२ ले मधेसी, आदिवासी जनजाति, दलितरशिल्पी, महिला, खस, मुस्लिम, थारु, अल्पसंख्यकलगायतले उठाउँदै आएका मुद्दाहरूलाई सम्बोधन नगरेको भन्दै विरोध गर्दै आएको छ । सत्तारुढ दलका नेता यादवले संविधानमा संघीयता, समावेशी लोकतन्त्र, राष्ट्रिय पहिचानको मान्यता, स्वशासन र स्वायतत्ता, समानुपातिक समावेशिकरण लगायतका प्रावधानहरू अधुरो र अपूर्ण रहेको जनाएका छन्। नेपालको संविधान २०७२ ले मधेशी, आदिवासी जनजाति, दलितरशिल्पी, महिला, खस, मुस्लिम, थारु, अल्पसंख्यक समुदायका साथै उत्पीडित जातजाति एवं समुदायले उठाउँदै आएका राष्ट्रिय मुद्दाहरुलाई सम्बोधन गर्न नसकेको जसपाले जनाएको छ।
नक्कली नेपाली नोटसहित दुई पक्राउ काठमाडौं । महोत्तरीबाट २२ हजार नक्कली नेपाली नोटसहित पिन्टुकुमार राय र अर्का एक बालक पक्राउ परेका छन् । पसलमा कारोबार गरिरहेको अवस्थामा सोधपुछ गर्दा वी आर ३० भी ९४८७ नम्बरको स्कुटीमा नक्कली नोट फेला परेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । औरही बजारबाट भारत बिहार राज्यको मनपौर ग्राम पञ्चायत बस्ने २१ वर्षीय  राय र अर्का एक बालक पक्राउ परेका प्रहरी निरीक्षक (इन्स्पेक्टर) विष्णुप्रदीप बस्यालले बताए । नक्कली नोटसहित पक्राउ परेका उनीहरूबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
भरतपुर अस्पताललाई ५० लाख बराबरको स्वास्थ्य सामग्री सहयोग काठमाडौँ । भरतपुर महानगरपालिकाले भरतपुर अस्पताललाई झन्डै ५० लाख बराबरको कोभिड १९ सम्बन्धित स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेको छ । भरतपुर महानगर प्रमुख रेनु दाहालबाट अस्पतालका अध्यक्ष डा भोजराज अधिकारी, मेसु डा कृष्णप्रसाद पौडेललाई स्वास्थ्य सामग्री हस्तान्तरण भएको हो । इसिजी मेसिनसहित कोभिड–१९ सम्बन्धी स्वास्थ्य सामग्री महानगरले हस्तान्तरण गरेको हो । सो अवसरमा भरतपुर महानगरप्रमुख दाहालले कोभिड–१९ को उपचारमा भरतपुर अस्पतालले खेलेको भूमिकाको उच्च मूल्याङ्कन गरिएको बताइन् । काठमाडौँलगायत विभिन्न जिल्लाबाट हेलिकोप्टरबाट कोभिडका बिरामी उपचारका लागि भरतपुर आएको भन्दै कोभिड उपचारमा कुनै कमी हुननदिएको उनको भनाइ थियो । स्वास्थ्य सामग्रीको सही सदुपयोग गर्दै सेवालाई अझ बढी प्रभावकारीरूपमा प्रयोग गर्न उनले आग्रह गरिन् । मित्रराष्ट्र चीनको सिगात्से सिटी र बेइजिङ एग्रो बायोटिकले महानगरलाई उपलब्ध गराएको स्वास्थ्य सामग्री भरतपुर अस्पताललाई हस्तान्तरण गरिएको हो । कार्यक्रममा मेसु डा कृष्णप्रसाद पौडेलले सबैको सल्लाह र सुझावअनुसार नै अस्पताललाई अगाडि बढाउने बताए । अस्पताल विकास समितिका सदस्य मुकुन्द दाहालले अस्पतालको विकासमा भरतपुर महानगरपालिकाको सहयोगले नै अस्पताल यहाँसम्म आइपुगेको बताए । कार्यक्रममा २०७८ सालको भरतपुर अस्पतालको पहिलो अंक बुलेटिनको विमोचनसमेत गरिएको थियो ।
पत्रकार र युवा उद्यमीमाथि निर्घात कुटपिट काठमाडौं । कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा कार्य क्षेत्र बनाएर काम गर्दै आएका पत्रकार विमल धामी र युवा उद्यमी सन्देश पाण्डेयमाथि आज निर्घात कुटपिट गरिएको छ । सामान्य विवादमा स्थानीयवासी सुरेश खत्रीको समूहले दुवै जनामाथि निर्घात कुटपिट गरेको हो । युवा उद्यमी पाण्डेयमाथि कुटपिट गरेर भाग्दै गरेका खत्रीको समूहलाई पत्रकार धामीले कुटपिटको कारण सोधपुछ गर्न खोज्दा कुटपिट गरेको बताइएको छ । युवा उद्यमी पाण्डेयको टाउकोसहित शरीरका विभिन्न भागमा चोट लागेको छ । कुटपिटबाट पत्रकार धामीको शरीरको भित्री भागमा चोट लागेको छ ।कुटपिटमा संलग्नमाथि कारवाहीको माग गर्दै पीडितद्वयले इलाका प्रहरी कार्यालय बेलडाँडीमा उजुरी दिएका छन् । इप्रका बेलडाँडीका प्रहरी निरीक्षक रवीन्द्र कठायतले कुटपिटमा सङ्लग्नको खोजी भइरहेको बताए । घटनाबारे छानबिन गरी दोषीलाई कारवाही गरिने उनले बताए । कुटपिटमा संलग्नमध्ये कोही पनि अहिलेसम्म पक्राउ परेका छैनन् ।
त्रिविले गर्यो नतिजा सार्वजनिक काठमाडौं । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खुले नतिजा प्रकाशित गरेको छ। परीक्षा शाखा, बल्खुद्धारा सेमेष्टर परीक्षा प्रणाली अन्तर्गत ग्रेडिङ सिस्टम अनुसार २०७७ साल चैत्र र २०७८ साल बैशाख महिनामा सञ्चालन भएको स्नातकोत्तर तह इन्जिनियरिङ्ग जियोलोजी विषय प्रथम वर्ष प्रथम शत्र २०७६ समूहको नियमित तथा सोही शत्रको सो भन्दा अगाडिका समूहको आशिंक परीक्षाको परीक्षाफल विज्ञान तथा प्रविधि अध्ययन संस्थान, परीक्षा सञ्चालक समितिको निर्णयानुसार प्रकाशित गरिएको छ ।
हिताधिकारीका जायज माग सम्बोधन गर्न सङ्गठन तयारः प्रधानसेनापति काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले कल्याणकारी कोषमार्फत हिताधिकारीका जायज माग र अपेक्षालाई सम्बोधन गर्न सङ्गठन सधैँ तयार रहने प्रतिबद्धता व्यक्त गरे । उनले द्वन्द्व तथा कर्तव्यपालनाको सिलसिलामा वीरगती प्राप्त सकलदर्जाका एकल महिलासँग जङ्गी अड्डामा आज भेटघाट गरेर उद्यमशिल कर्जा सुविधाको उपभोग गर्दै स्वरोजगार र आत्मनिर्भर बन्न सुझाव दिए । प्रधानसेनापति शर्माले सङ्गठनको नेतृत्व लिएपछि पहिलो सम्बोधनमा वीरगती प्राप्त परिवार, एकल महिला, घाइते तथा फरक क्षमता भएका हिताधिकारीलाई अवसर र सेवा सुविधाको सीमा बढाउने विषयलाई प्राथमिकतामा दिने घोषणा गरेका थिए । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार उक्त समूहमा रहेका ८०० एकल महिलालाई सेनाले पारिवारिक निवृत्तिभरणको रुपमा वीरगतीतर्फ मासिक तीन हजार प्रदान गरिने छ । कर्तव्यपालना शीर्षकमा यही असोजदेखि दुई हजार ५०० र वीरगतीतर्फ मासिक रु तीन हजार ५०० प्रदान गरिने सेनाले जनाएको छ ।
‘लागूऔषध प्रयोग र ओसारपसार विश्वकै चुनौती’ काठमाडौं । आसरा सुधार केन्द्र रानीबारीको २५ औँ वार्षिकोत्सव तथा रजतजयन्ती समारोहमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले लागूऔषधको अबैध ओसारपसार र प्रयोग विश्वकै साझा चुनौती भएको बताएका छन् । उनले लागूऔषध उत्पादन, खरिद बिक्री, सञ्चय, ओसारपसार र उपभोगको वृद्धि हुँदै जानुले समस्या बढाइरहेको उल्लेख गर्दै कुलतमा फसेका युवालाई राष्ट्र निर्माणको बाटोमा ल्याउनु सबैको सामाजिक दायित्व रहेको बताए । लागूऔषध दुव्र्यसनमा फसेका मानिसलाई नयाँ जीवन दिन केन्द्र सफल भएको उनले बताए। सो अवसरमा केन्द्रका परामर्शदाता तथा बाह्य प्रशिक्षक, आसरा सुधार केन्द्र पानवारी धरान र महिला आसरा सुधार केन्द्र तिलगङ्गालाई प्रशंसापत्र प्रदान गरिएको थियो । समारोहमा केन्द्रकी पूर्व अध्यक्ष सीमा अर्याल, पूर्व प्रहरी नायव महानिरीक्षक विमला थापा र केन्द्रकी पूर्व सचिव रम्भा लामालाई सम्मान गरिएको थियो ।
दशैंका लागि नयाँ नोट असाेज ४ गतेदेखि वितरण हुने काठमाण्डौ । दशैंका लागि नेपाल राष्ट्र बैंकले नयाँ नोट असोज ४ गतेदेखि वितरण गर्ने भएको छ । हरेक वर्ष दशैंमा नयाँ नोट वितरण गर्दै आएको राष्ट्र बैंकले गत वर्ष कोरोनाका कारण राष्ट्र बैंकले नयाँ नोट वितरण गरेको थिएन । ‘क’ वर्गका बैंकहरुले समेत दशैंका लागि नयाँ नोट वितरण गर्नेछन् । धेरै जसो बैंकहरुमा नयाँ नोट पुगिसकेको राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले जानकारी दिए । केही विकास बैंक र फाइनान्स कम्पनीहरु समेतले नयाँ नोट लगिसकेका छन् । कार्यकारी निर्देशक नेपालका अनुसार प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले नयाँ नोट वितरण हुनेछ ।
कांग्रेस डडेल्धुरामा विवादःछलफल गर्न देउवाले बोलाए बालुवाटार काठमाडौं। प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले डडेल्धुराको विवादित अधिवेशन विषयमा छलफल गर्न पौडेल समूहका नेताहरुलाई छलफलमा बोलाएका छन्। प्रधानमन्त्री देउवाको आफ्नै गृहजिल्ला डडेल्धुरामा विधान विपरित मनपरि ढंगबाट क्रियाशील सदस्यता बितरण भन्दै जिल्ला सभापति कर्णबहादुर मल्लले अधिवेशन बहिस्कार गरेका छन्। तर निर्वाचन समितिले मल्लको असहमति वाबजुतपनि भदौ २५ गते वडा अधिवेशन गरेपछि कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल समूहले अलोकतान्त्रिक ढंगबाट सत्ताको चरम दुरुपयोग गरेको भन्दै पुनःअधिवेशन गर्नुपर्ने माग राख्दै आएको छ। यही विषयमा छलफल गर्न प्रधानमन्त्रीले आज पौडेल समूहलाई आफ्नो सरकारी निवास बालुवाटारमा बोलाएका छन्।सभापतिजी ले प्रहरी परिचालन गरि वडाको अधिवेशन गराउनु भएको छ,लोकतन्त्रमा यस्तो कदम किमार्थ स्वीकाय हुँदैन। त्यहाँको विवाद अन्त्य गरेर पुनःअधिवेशन गर्नुपर्छ।त्यसलै यही विषयमा छलफल गर्न सभापतिले बैठक राख्नु भएको हो।हामी बैठकमा आफ्नो कुरा राख्छौँ।।’पौडेल समुहका एक नेताले भने। बैठक दिउँसो आज ३ बजे डाकिएको छ।
खुले सुपथ मूल्यका पसल, दुर्गममा हेलिकप्टरबाट खाद्यान्य आपूर्ति गरिने काठमाडौं । चाडपर्वलाई लक्षित गरी सरकारले सहुलियत मूल्यका पसल आज(शुक्रबार)देखि सञ्चालनमा ल्याएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीको बागमती प्रादेशिक बिक्री केन्द्र थापाथलीस्थित सहुलियत मूल्य पसलको उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईले गरेका हुन् । थापाथलीस्थित सहुलियत मूल्य पसलको उद्घाटनसँगै देशैभर सरकारद्वारा संचालित अन्य सुपथ मूल्यका पसलहरु संचालनमा आएका छन् । उद्घाटन कार्यक्रमसँगै सचिव भट्टराईले सुपथ मूल्यका पसलहरु छठको भोलिपल्ट अर्थात् कात्तिक २४ गतेसम्म सञ्चालन गरिने जनाएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङसहितको सहभागितामा काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा सुपथ मूल्यका पसल सञ्चालनमा आएको सचिव भट्टराईले जानकारी गराए । खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट आज असोज १ गतेदेखि देशका ३९ जिल्लाका ४३ आउटलेटबाट सहुलियत मूल्यका पसल संचालन गरिएको र आवश्यक परेको खण्डमा थप विस्तार हुने जनाइएको छ । काठमाडौं उपत्यकामा जनताको सुविधाको लागि थापाथली, रामशाहपथ, ललितपुरको नख्खु र भक्तपुरको सूर्यविनायकका बिक्री काउन्टरबाट भौतिक उपस्थितीमा सामान बिक्री हुनेछ । साथै, अनलाईन सेवाबाट पनि छुटसहित निःशुल्क होम डेलिभरीको व्यवस्था मिलाइएको छ । काठमाडौंं उपत्यकामा वडादसैं पर्वमा मासुको मूल्यमा कार्टेलिङ रोक्न मकवानपुर, दाङ जिल्लाका किसानहरुबाट २ हजार गोटा खसिबोका र मुस्ताङबाट १ हजार गोटा च्याङ्ग्रा खरिद गरी ल्याउने तयारी भइरहेको जनाइएको छ । र, घटस्थापनासम्ममा खसिबोका काठमाडौं आइपुग्ने छ । सहुलियत मूल्य पसलमा चामल, दालमा प्रति केजी ५ रुपैयाँ, खाने तेलहरुमा ५ देखि १० रुपैयाँ, कर्णालीको सिमि र फापरको दानामा प्रति केजी १० र जिउदो खसि बोकामा प्रति केजी १० रुपैयाँ छुट दिई बिक्री गर्ने व्यवस्था मिलाइएको छ । त्यसैगरी, दुर्गम जिल्लाहरुमा खाद्यान्न अभाव हुन नदिन हेलिकप्टर, हवाईजहाज र पैदल बाटो प्रयोग गरेर खाद्यान्न आपूर्तिको व्यवस्था मिलाइएको सचिव भट्टराईले बताए । तस्बिरहरु : फुर्पा शेर्पा
झापामा ५०० शय्याको अस्पताल निर्माण गरिँदै झापा । जिल्लाकाे कमल गाउँपालिकामा ५०० शय्याको अस्पतालको निर्माण सुरु गरिएको छ। नागरिकलाई सुलभ स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ कमल–५ स्थित भृकुटी अस्पताल निर्माण थालिएको अस्पतालका अध्यक्ष बुद्धिमान थापाले जानकारी दिए। वडा नं ५, पाडाजुँगी चोकबाट पूर्व आदिवासी रङ्गशाला दक्षिण मूल राजमार्गसँगै जोडिएको तीन बिघा जग्गामा युवा व्यवसायी बुद्धिमान थापा, प्रताप कार्की र नसीम कार्कीले सो अस्पताल सञ्चालन गर्न लागेका हुन्। एक वर्षभित्रमा अस्पताल सञ्चालनमा आउने जनाउँदै अस्पतालका अध्यक्ष थापाले भने, “प्रारम्भिक चरणमा १०० शय्याबाट सुरु हुन्छ, मापदण्डअनुसार विस्तार गरेर ५०० शय्यासम्म पु¥याउँछाैँ।” अस्पतालको भौतिक संरचना निर्माण र स्वास्थ्य उपकरणमा रू एक अर्बभन्दा बढी खर्च हुने जनाउँदै उनले भवन निर्माणको ठेक्का सम्झौता भइसकेको र कुमारी बैंकको वित्तीय सहयोगसमेत लिएर निर्माण सुरु गरिने बताए। थापाले स्वास्थ्य सेवा नागरिकको नैसर्गिक अधिकार भएको जनााउँदै भने, “झापाको यो मध्य भागमा सुविधासम्पन्न अस्पतालको आवश्यकता खड्किएर हामी यो अभियानमा जुटेका हौँ।” अस्पतालबाट झापालगायत इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुमसहित मोरङका नागरिक लाभान्वित हुने विश्वास गरिएको छ। रवि–चिसापानी सडकखण्ड सञ्चालनमा आएपछि पहाडी जिल्लाका नागरिकलाई दूरीका हिसाबले बिर्तामोड पुग्नुभन्दा नजिक हुने अध्यक्ष थापाको भनाइ छ। विपन्न र असहायलाई समेत सहजरूपमा उपचार गर्ने अस्पतालका रूपमा भृकुटी अस्पताललाई स्थापित गराउने लक्ष्य रहेको सुनाउँदै उनले उपचार गर्न नसक्ने विपन्न एवं असाहय वर्गका लागि सक्दो सहुलियत दिने सेवाभावले अस्पताल सञ्चालनमा ल्याउन लागिएको बताए। अस्पतालमा डायलायसिस, कार्डियो थेरापी, सर्जरी, न्यूरो सर्जरी, हाड जोर्नी, गाइनो, बालरोग, थेरापी, डेन्टल, रेडियोलोजी, प्याथोलोजीलगायत सबै सेवा उपलब्ध हुनेछ । स्वास्थ्य सेवा पाउनु नागरिकको नैसर्गिक अधिकार हो भन्ने कुरालाई मनन गर्दै स्थापना हुँदै गरेको यो अस्पताललाई पूर्वकै सबैभन्दा भरपर्दाे र ठूलो अस्पताल बनाउने आफूहरूको योजना रहेको अर्का सञ्चालक प्रताप कार्कीले बताए।रासस
कर्मचारी सञ्चय कोष : सूचना प्रविधिमा फड्को मार्दै काठमाडौं । कर्मचारी सञ्चय कोष धनगढी शाखाले सेवा प्रवाहलाई अझ बढी प्रभावकारी र प्रविधिमैत्री बनाउने रणनीति लिएको छ । कोषको ६०औँ वार्षिकोत्सव मनाउन आज धनगढीमा आयोजित समारोहमा कार्यालय प्रमुख राजेन्द्रविक्रम केसीले सेवा प्रवाहलाई प्रविधिमैत्रीसहित प्रभावकारी बनाउँदै सेवाग्राहीको सन्तुष्टि अभिवृद्धि गर्ने रणनीति लिइएको बताए। ‘सहजरूपमा सेवा प्रवाहका लागि कोषले नवीनतम प्रविधिमा जोड दिइरहेको छ’, केसीले भने, ‘हालको सेवा तथा सुविधालाई थप परिष्कृत र दिगो बनाउने दिशामा कोषको आगामी योजना केन्द्रित हुनेछन् ।’ कोषले भावी योजना तय गर्दै प्रविधिमा आधारित सेवामा जोड दिने जनाएको छ । कोषले ‘केवाइसी’ अद्यावधिक गरेका सञ्चयकर्ताले अनलाइनमार्फत विशेष सापटी लिनसक्ने र सबै प्रकारका सापटीको साँवा तथा ब्याज आफ्नो बैंक खाताबाट सोझै सञ्चयकोषमा तिर्नसक्ने व्यवस्था गत वर्षदेखि सुरु गरिसकेको छ । कोषबाट कर्जा लिएका सञ्चयकर्ताको जग्गा रोक्का फुकुवाको कार्य आउने असोजदेखि अनलाइनमार्फत गर्न लागिएको छ । यो सेवासँगै रोक्का फुकुवा र धितो पासका लागि सञ्चयकर्ता मालपोत जानुपर्ने बाध्यता हट्नेछ । आजदेखि घर खरिद कर्जालाई परिमार्जन गर्दै ‘घरजग्गा खरिद कार्यक्रम’ सुरु गरिएको छ । महालेखा नियन्त्रक कार्यालयसँगको सहकार्यमा कोषले विद्युतीय प्रणालीमार्फत फाँटबारी सङ्कलनलाई निरन्तरता दिइरहेको छ । यस्तै सङ्घ र प्रदेश कार्यालयका स्थायी कर्मचारीको तलबी विवरण तयार गर्दा नै अनिवार्यरूपमा कोषको परिचयपत्र नम्बरका आधारमा रुजु गरी सञ्चयकोष रकम पठाउन सकिने व्यवस्था गरिएको छ । डिजिटल परिचयपत्रको सुरुआत, आधुनिक कल सेन्टर सञ्चालन, रियलटाइम रिकन्सिलियसन, हरेक कारोबारको एसएमएस जानकारी दिने व्यवस्था जस्ता कार्य भइरहेको जनाइएको छ । प्रविधिप्रतिको बढ्दो निर्भरताले वित्तीय प्रणालीमा जोखिमसमेत बढेकाले कोषले अत्याधुनिक डाटा सेन्टर स्थापना गरेको कार्यालय प्रमुख केसीले बताए। रु चार खर्ब ४४ अर्बभन्दा बढी स्रोत रहेको कोषले मुलुकको आर्थिक तथा पूर्वाधार विकासमा रकम परिचालन गरी सोको उच्चतम प्रतिफलबाट सञ्चयकर्ता लाभान्वित भइरहेको जनाइएको छ । सरकारी कर्मचारीका लागि लागू भएको योगदानमा आधारित निवृत्तभरण (पेन्सन) फण्डको व्यवस्थापनसमेत कोषमार्फत हुँदै आइरहेको छ । कोषले शाखा कार्यालयमार्फत सञ्चयकर्तालाई सहुलियत दरमा विशेष सापटी, घरजग्गा खरिद तथा निर्माण सापटी, घर मर्मत सापटी, शैक्षिक सापटीलगायत कर्जा प्रदान गरिरहेको छ । सञ्चयकर्ताको सञ्चयकोष तथा निवृत्तिभरण कोषमा छ दशमलव ५० प्रतिशत ब्याजका साथै एक प्रतिशत मुनाफासमेत वितरण गरिरहेको छ । कोषले सञ्चयकर्तालाई साधारण रोग लागी उपचार गराएको हकमा प्रत्येक आर्थिक वर्षमा रु एक लाखसम्म र घातक रोगको उपचारको हकमा सेवा अवधिमा अधिकतम रु १० लाखसम्म सोधभर्ना प्रदान गर्ने गरेको छ । यस्तै सुत्केरी तथा शिशु हेरचाह खर्चबापत रु सात हजार ५००, दुर्घटना क्षतिपूर्तिबापत रु दुई लाख, काजकिरिया अनुदानबापत हकवालालाई रु ४० हजार प्रदान गर्ने गरिएको कोषले जनाएको छ । कोषद्वारा सुदूरपश्चिमका सञ्चयकर्तालाई लक्षित गरी धनगढी शाखामार्फत विसं २०६१ देखि सबै प्रकारका सेवा शुरु गरिएको थियो । शाखाको स्थापनापश्चात् कोषको सेवा लिन केन्द्रमा जानुपर्ने सञ्चयकर्ताको झन्झट हटेको छ । धनगढी शाखाबाट सुदूरपश्चिम क्षेत्रका करिब एक लाख सञ्चयकर्ता लाभान्वित भइरहेको बताइन्छ ।
गुण्डा नाइके समीरमानका भतिज अभिमानसिंह बस्नेत पक्राउ काठमाडौँ । गुण्डा नाइके समीरमानसिंह बस्नेतका भतिज अभिमानसिंह बस्नेत पक्राउ परेका छन् । नेपालगन्जका एक युवालाई खुकुरी प्रहार गरी घाइते बनाएको आरोपमा बस्नेत पक्राउ परेका हुन् । उनलाई अपराध महाशाखाको टोलीले काठमाडौको सोल्टीमोडबाट पक्राउ गरेको हो । उनले दुई हप्ताअगाडि कालिमाटीमा नेपालगञ्जका हेमराज शाहीमाथि खुकुरी प्रहार गरी घाईते बनाएका थिए । प्रहरीका अनुसार बस्नेतसहित ६ जनाको टोलीले हेमराज शाहीमाथि खुकुरी प्रहार गरेका थिए । शाहीमाथि खुकुरी प्रहार गर्नेमा चार जना युवती छन् । युवतीहरु भने पक्राउ परेका छैनन । समीरमान बस्नेत निर्माण व्यवसायी संघका तत्कालीन अध्यक्ष शरद गौचन हत्या अभियोगमा कारागारमा छन् ।
उत्कृष्ट अनुसन्धान गर्ने पाँच जना प्रहरी कर्मचारीहरु नगद पुरस्कारद्वारा पुरस्कृत काठमाडौं । संखुवासभा मादी गाउँपालिका १ उम्लिङस्थित एकै परिवारका ६ जनाको हत्या गरिएको घटनाको सफल अनुसन्धान गर्ने ५ जना प्रहरी कर्मचारीहरु नगद पुरस्कारद्वारा पुरस्कृत गरिएको छ । पुरस्कृत हुने प्रहरी कर्मचारीहरूमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव महानिरीक्षक अरूण कुमार वि.सी., नेपाल प्रहरी प्रदेश कार्यालय धरान अपराध अनुसन्धान शाखाका प्रहरी उपरीक्षक भिम बहादुर दाहाल, जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरीक्षक लाल ध्वज सुवेदी, प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरोका प्रहरी निरीक्षक मणिराम थापा र १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर अनुसन्धान शाखाका प्रहरी निरीक्षक बबिन्द्र नेम्बाङ रहेका छन् । अपराध अनुसन्धानमा प्रशंसनीय एवं उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरूलाई पुरस्कृत गरिँदा अन्य प्रहरी कर्मचारीहरुको कार्य सम्पादन स्तरमा समेत सकारात्मक प्रभाव पर्न गई प्रहरी मनोबल उच्च रहने विषयलाई दृष्टिगत गरी उनीहरूले सम्पादन गरेको प्रशंसनीय कार्यको कदर स्वरूप प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को परिच्छेद १५ को नियम १९७ को देहाय (क) बमोजिम अभिलेखमा जनिने गरी प्रहरी प्रधान कार्यालयले उनीहरूलाई बिहीबार नगद पुरस्कारद्वारा पुरस्कृत गरेको हो । साथै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर, नेपाल प्रहरी प्रदेश कार्यालय धरान र जिल्ला प्रहरी कार्यालय संखुवासभा समेतले उक्त घटनाको सफल अनुसन्धानमा इमानदार एवं निष्ठाकासाथ प्रशंसनीय कार्य गर्ने आआफ्ना कार्यालय मातहतका प्रहरी कर्मचारीहरूलाई समेत पुरस्कृत गरेका छन् ।
डा.गोविन्द केसी सत्याग्रहका लागि अमेरिका जाँदै काठमाडौं । डा. गोविन्द केसी विश्व शान्ति दिवसका अवसरमा हुने शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन अमेरिकी प्रस्थान गर्दै छन्। स्वास्थ्य तथा चिकित्सा शिक्षाको सुधार र सुशासनका लागि आन्दोलन गर्दै आएका डा. केसी बिहीबार अमेरिका जान लागेका हुन्। दुईदिने सामूहिक सत्याग्रह’ को अवधारणा लिएर डा. केसी बिहीबार न्यूयोर्क जान लागेका हुन् । उनको अगुवाइमा सेप्टेम्बर २० र २१ मा दिनको १ देखि ४ बजेसम्म न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालय अगाडि शान्तिपूर्ण प्रदर्शन हुने भएको बताइएको छ । प्रदर्शनीमा संसारभर डरलाग्दो समस्याका रुपमा बढ्दै गरेको जलवायु परिवर्तनलगायत सबैका लागि स्वास्थ र शिक्षा तथा सबैका लागि कोभिड खोपका विषयमा विश्वका नेताहरुको ध्यानाकर्षण गराइने जनाइएको छ।
राष्ट्रिय विज्ञान दिवस मनाउने सरकारको तयारी काठमाडौं । राष्ट्रिय विज्ञान दिवस प्रत्येक वर्ष असोज १ गतेका दिन नेपालभर मनाइने गरिन्छ । देशका सबै वर्ग, समुदाय तथा पेसागत क्षेत्रका व्यक्ति तथा संस्थाहरूलाई विज्ञान तथा प्रविधिको क्षेत्रमा योगदान पुर्याउने गरी परिचालन गर्ने तथा विज्ञान तथा प्रविधि विषयमा जनचेतना बढाउने, नीति निर्मातादेखि तल्लो तहका जनतासम्म यो प्रकृयामा सक्रिय भूमिका निभाउने अवस्था सिर्जना गर्नका लागि सचेतनामूलक र अभियानमुखी काम गर्ने उद्देश्यले प्रत्येक वर्षको असोज १ गतेलाई राष्ट्रिय विज्ञान दिवसको रूपमा मनाइन्छ । विज्ञान तथा प्रविधिका क्षेत्रमा अहिलेसम्म भए गरेका प्रगतिबारे जनचेतना फैलाउनका साथै देशभित्र विज्ञान, प्रविधि र नवप्रवर्तन भित्र्याउन विज्ञान कूटनीतिमार्फत पहल गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको हो । सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा विज्ञान तथा प्रविधिसचिव डा सुरेश आचार्यले विज्ञान तथा प्रविधिका विभिन्न खोज अनुसन्धानकाका साथै आविस्कारबारे जानकारी गराउन दिवस मनाउन लागिएको बताए । सचिव आचार्यका अनुसार दिवसका अवसरमा वैज्ञानिक खोजमा संलग्न नवप्रतिभालाई प्रोत्साहनका साथै यस क्षेत्रमा योगदान गरेकालाई सम्मान तथा पुरस्कार वितरण गरिने छ । युवा जनशक्तिलाई स्वदेशमा रहेर रोजगारीको वातावरण सिर्जना गरी प्रतिभा पलायनको प्रवृत्तिलाई न्यूनीकरण गर्न दिवस उपयोगी हुनेछ । ‘विज्ञान र प्रविधिको उन्नत विकासः प्रकोप र महामारीबाट सहज निकास’ भन्ने मूल नाराका साथ मनाइने दिवसमा विज्ञान पत्रकारिता, एरोनोटिकल प्रविधि, अन्तरिक्ष प्रविधि, विपद् न्यूनीकरणसम्बन्धी प्रविधि र जैविक प्रविधिविधामा पुरस्कार घोषणा गरिने छ । प्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेतृत्वमा गठित संयुक्त सरकारले विसं २०६९ मा निर्णय गरेर विसं २०७० देखि राष्ट्रिय विज्ञान दिवस मनाउन थालिएको हो ।
बलात्कारपछि गर्भपतन गराएको आरोपमा युवक पक्राउ काठमाडौं । बालिका बलात्कारको आरोपमा प्रहरीले आकाश झालाई पक्राउ गरेको छ । जलेश्वर नगरपालिका–९ का २४ वर्षका झाले घरमा काम गर्ने १५ वर्षकी बालिका बलात्कार गरेको र बलात्कारबाट रहेको गर्भपतन गराएको आरोपमा उनलाई पक्राउ गरेको प्रहरीले बताएको छ । झालाई उनलाई पीडित पक्षको उजुरीको आधारमा झालाई घर नजिकैबाट पक्राउ गरिएको महोत्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी प्रकाश बिष्टले जानकारी दिए । पक्राउ परेका झाविरुद्व अनुसन्धानका लागि महोत्तरी जिल्ला अदालतबाट अनुमति लिइसकेको प्रहरीले जनाएको छ ।
२५ किलो सालकको खपटासहित दुई जना पक्राउ काठमाडौं । संरक्षित वन्यजन्तु सालकको खपटा सहित सोनाम तामाङ र ध्यानबहादुर तामाङ पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले २५ किलो सालकको खपटासहित रामेछाप लिखु तामाकोशी गाउँपालिका–३ का ३८ वर्षीय सोनाम तामाङ र ३२ वर्षीय ध्यानबहादुर तामाङलाई पक्राउ गरेको सीआईबीले जनाएको छ । मन्थली एरियाबाट संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसार पसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा व्यूरो तथा जिल्ला प्रहरी कार्यालय, रामेछापबाट खटिएको संयुक्त प्रहरी टोलीले मन्थली नगरपालिका १ देवकोटा चोकबाट उनीहरुलाई पक्राउ गरेको हो । आवश्यक कानूनी कारवाहीका लागि डिभिजन वन कार्यालय रामेछापमा बुझाइएको सीआईबीले जनाएको छ ।
संखुवासभा सामूहिक हत्या प्रकरण : मृतक रञ्जनाको मोबाइल भेटियो, आरोपी कार्कीका भाइ पक्राउ काठमाडौं । संखुवासभाको हत्या प्रकरणमा नयाँ तथ्य फेला परेको छ। मृतक रञ्जनाको मोबाइल आरोपी कार्कीका भाइको हातबाट फेला पारेपछि प्रहरीले उनलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। लोकबहादुर कार्कीका भाई नरेश कार्की हत्याको प्रत्यक्षदर्शी रहेको थाहा भएको अनुसन्धानमा खटिएका एक अधिकृतले बताए। उनका अनुसार रञ्जनाको सुत्ने कोठामा गएर नरेशले मोबाइल लिएको आशंका गरिएको छ। भदौ २१ मा उम्लिङका ५५ वर्षीय तेजबहादुर कार्की, आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीको हत्या भएको थियो। हत्यापछि सङ्खुवासभा पुगेका केन्द्रीय अनुसन्धान ब्युरोका डिएसपी रुगम कुँवर, सङ्घीय प्रहरी इकाई कार्यालय धरानका एसपी भीम दाहाल र सङ्खुवासभाका डिएसपी लालध्वज सुवेदी सहितको टिमले ५ दिनपछि लोकबहादुरलाई पक्रेर सार्वजनिक गरेका थिए।
पाँच किलो चाँदीसहित दुई पक्राउ लहान । ठुलो परिमाणमा चाँदीसहित सिरहा प्रहरीले दुई भारतीय युवकलाई पक्राउ गरेको छ। सिरहाको लहानबाट भारततर्फ तस्करी गर्न लगिरहेको करिब पाँच किलो चाँदीसहित प्रहरीले भारतको खुटौना पञ्चायतका रवि महतो र पिन्टु महतोलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीका अनुसार बुधबार साँझ जाँचका क्रममा भारतीय सीमा क्षेत्र ठाडीबाट चाँदीसहित दुवै जनालाई गरिएको हो। पक्राउ परेका दुवैलाई इलाका प्रहरी कार्यालय लहानमा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताए।
कच्चा पदार्थकोे मूल्य बढ्दा तेलको मूल्य बढ्यो काठमाडौं । कोभिड–१९ का कारण अन्तर्राष्ट्रिय बजारमा तेलको कच्चा पदार्थको मूल्यमा वृद्धि हुँदा नेपालमा प्रशोधित तेलको मूल्य बढेको तेल उत्पादक सङ्घले जनाएको छ । नेपाल वनस्पती घ्यू तेल उत्पादक सङ्घले आज एक विज्ञप्ति जारी गर्दै कोभिड पछि कच्चा पदार्थको मूल्य दोब्बरले वृद्धि हुँदा खाने तेलको मूल्यमा वृद्धि भएको जनाएको हो । सङ्घका अनुसार सन् २०२० को अप्रिलमा प्रतिमेट्रिक टन ५८९ अमेरिकी डलर रहेको अर्जेन्टिनाको क्रुड सोयाबिनको तेल २०२१ को मेमा प्रतिमेट्रिक टन एक हजार ३६३ डलर पुगेको छ । यस्तैगरी प्रतिमेट्रिक टन ७०४ डलर युक्रेन क्रुड सनफ्लावरको तेलको मूल्य २०२१ को मेमा एक हजार ४९५ डलर पुगेको छ । एक वर्षमा असामान्य रूपमा कच्चा पदार्थको मूल्यमा वृद्धि भएको सङ्घले जनाएको छ । यस्तै सङ्घले जुलाईमा कच्चा पदार्थको मूल्य केही घटे पनि पछिल्लो समय बढेको जनाएको छ । अर्जेन्टिनाका क्रुड सोयाबिन तेलको मूल्य घटेर प्रतिमेट्रिक टन एक हजार ९५ अमेरिकी डलर र क्रुड सनफ्लावर युक्रेन तेलको मूल्य प्रतिमेट्रिक टन एक हजार १६० डलर भएको थियो । सङ्घले अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य घट्दा उद्योगीसँग पर्याप्त मात्रामा स्कट रहँदासमेत वाणिज्य विभागको निर्देशनमा तेलको मूल्य घटाइएको जनाएको छ । सङ्घका अनुसार पछिल्लो समय प्रतिमेट्रिक टन २०० देखि २४० डलरसम्म तेलको कच्चा पदार्थको मूल्यमा वृद्धि भएको छ । “अन्तर्राष्ट्रिय रूपमा नै कच्चा पदार्थको मूल्यमा वृद्धि हुँदा नेपाली बजारमा मूल्य वृद्धि भएको हो । गत अगष्ट २० को विवरणअनुसार प्रतिटन सोयाबिन तेल एक हजार ३२७ र सनफ्लावरको कच्चा पदार्थको क्रुड मूल्य एक हजार ३३० अमेरिकी डलर भएको छ”, विज्ञप्तिमा भनिएको छ । पछिल्लो समय नेपाली बजारमा खाने तेलको मूल्यमा वृद्धि भएपछि नियामक निकायको रूपमा रहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग तथा उपभोक्ता अधिकारकर्मीले चासो देखाउन थालेका छन् । विभागले केही समय अघि तेल उद्योगको अनुगमन गरेर मूल्य बढ्नुको कारण सार्वजनिक गर्नसमेत निर्देशन दिएको थियो । नेपालमा हाल २० वटा प्रशोधित खाने तेल उत्पादन गर्ने उद्योग सञ्चालित अवस्थामा रहेका छन् । सो उद्योगले तेलका लागि आवश्यक पर्ने मुख्य कच्चा पदार्थ क्रुड सोयाबिन तेल, क्रुड सनफ्लावर तेल र तोरीको गेडा शतप्रतिशत ब्राजिल, अर्जेन्टिना, क्यानडा, अष्ट्रेलिया, युक्रेनलगायत देशहरूबाट आयात गर्दै आएका छन् । नेपालमा तेल प्रशोधन गरी उद्योगीले अन्य देशमा समेत निर्यात गर्दै आएका छन् ।
बजेट कार्यान्वयन गर्न धेरै उपाय थिए, तर सरकार चुकेको छः कोइराला काठमाडौं । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै पूर्व मुख्यसचिव डा. विमल कोइरालाले सरकारले ल्याएको बजेटको प्रतिस्थापन विधेयक पारित नहुँदा मुलुक ठूलो समस्यमा परेको बताएका छन् । उनले भने,‘हामी अहिले ज्यादै अप्ठ्यारो परिस्थितिमा छौं, हिजोबाट त कठिनबाट झन कठिन अवस्थामा प्रवेश गरेका छौं । हाम्रो राजनीतिक अवस्था बडो विद्रुप रुपमा अघि बढेको छ । अबका दिनमा यही परम्परा बस्छ कि भन्ने डर छ । सरकार चनाखो हुनुपर्छ । बजेटलाई कार्यान्वयन गर्न सरकारसँग धेरै उपाय थिए, तर सरकार चुकेको छ ।’ उनले सरकारसँग ल्याउने बाटो भएपछि त्यसबाट जाने बाटो लोकतान्त्रिक बाटो नभएको स्पष्ट पारे । उनले भने,‘एकदमै अप्ठ्यारो पर्यो भने खर्च सुचारु गर्नेतिर लाग्नुपर्छ । सरकारले जोखिम मूल्यांकन गर्न सकेन । सरकार चुकिसकेको छ ।’ उनले भने,‘कुन परिस्थितिमा अध्यादेशबाट बजेट आयो त पहिले, बास्तवमा संसद् विघटन गरेर यसअघिको सरकारले अध्यादेशमार्फत बजेट ल्यायो । संसद् विघटन गरेर चुनाव घोषणा गरेर सरकारले पूर्ण बजेट ल्याउनुहुँदैन् । अहिलेको सरकारले प्रतिस्थापन विद्येयक ल्यायो । यो बेलामा प्रतिस्थापन बजेट पास भएन भने मुलुकको अवस्था के हुन्छ ? भनेर सरकारले जोखिम हेर्नुपर्दथ्यो । सरकारले यसैगरि बजेट पास भैहाल्छ भन्ने सोच्यो । सरकारसँग समाधानका सबै उपाय थिए । तर, उसले त्यो गर्न सकेन । सरकार त्यहाँ चुक्यो । प्रतिपक्षी कहाँ चुक्यो भने उसका राजनीतिक मुद्दा होला, तर संसद् सञ्चालनमा सबै राम्रो बाटोमा हिँड्नुपर्छ । क्षणिक तुष्टिका निम्ति एमालेले तिलाञ्जली दियो । यस्तो किसिमको राजनीतिले मुलुकलाई राम्रो दिशामा लाँदैन् । मुलुकको आर्थिक विकासको निम्ति सोच्नुपर्नेछ ।’ क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले आजदेखि मुलुक अप्ठ्यारो अवस्थामा पुगेको पनि बताए । उनले भने,‘विनियोजन विद्येयकले दिएको अत्यावश्यक खर्चपनि गर्न नसक्ने अवस्था छ । हाम्रोमा आकस्मिक व्यवस्था छैन् । सरकार सञ्चालन खर्च ल्याउने अवस्था थियो । त्यसमा सरकार चुकेको हो । सबै दलहरुले यो अवस्था हामीले सिर्जना गरेका हो भनेर अब हामीले टुँगो लगाउनुपर्छ भनेर छिटोभन्दा छिटो टुँगो लगाउनुपर्छ । सहमति निर्माण नै महत्वपूर्ण हो । आर्थिक विषय खासगरी मुलुक सञ्चालन गर्ने विषयमा दलहरुबीच सहमति हुनुपर्छ ।’
कस्ले सुनिदिने यी चेलीको पिडा? आफ्नै ससुरा र श्रीमान शत्रु बनेपछि काठमाडौं । २ महिना अघि अदालतबाट अन्तरजातिय विवाह गरेकी सीता पटेल अहिले न्यायको खोजीमा छिन् । दाइजो नल्याएको भन्दै श्रीमान र ससुराले कुटपिट गरी ज्यानको धम्की दिएपछि उनी हाल राजधानी भौतारिदैँ हुन्। आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै पीडित पटेलले श्रीमान उमेश साह गोढ र ससुरा जवाहिर साह गोढले कुटपिट गर्दै ज्यानमार्ने धम्की दिएको बताइन् । उनले भनिन्, ‘म माथि विवरण ढाँटी नेपाली नागरिकता प्राप्त गरेको भनी झुठा मुद्दा लगाई थुनामा समेत राखेर यातना दिइयो ।’ अदालतबाट माग भएअनुसार धरौटी बुझाई भदौ २२ गते कारागारबाट आफू थुनामुक्त भएको सुनाउदै उनले सोही दिन प्रहरीकै मिलेमतोमा कोठाको साँचो नियन्त्रणमा लिई कोठाको सामान समेत लगेको सुनाइन् । कोठाबाट परिवारले ३२ इन्चको एल।सी।डी टि।भी, कुलर, दराज, एक लाख रुपैयाँ नगदसहित १ थान गहना लगेको उनको भनाई छ । सामुदायिक प्रहरी पर्साका सचिव दिलिप प्रधानले आफ्नो कपाल समातेर टाउको ठोक्काइदिएको भन्दै तत्काल कारवाहीको माग गरिन् । प्रधानसहित आएका ससुराले चक्कुले ज्यान मार्ने उद्देश्यले आफु्लाई ४–५ पटक पिठ्युमा प्रहार गरेर गम्भीर अवस्थामा छाडेर गएको समेत बताईन् । उनले भनिन् ‘पर्साका एसपी बेलबहादुर पाण्डेले जाहेरी लिन नमानेर मूल कापी नै च्यातेर फालेर ज्यान बचाउन भए नेपालबाट भाग्न धम्की दिए ।’ उनले कोठाबाट लगेको सामान तत्काल फिर्ता गर्न माग गरेकी छिन् । श्रीमानसँग शान्ति सुरक्षासहित पारिवारिक वातावरणमा बस्न पाउनुपर्ने पटेलको माग छ ।
मालपोत र भूमिको काम एकै ठाउँबाट काठमाडौँ । मालपोत कार्यालय विराटनगर र भूमि सुधार कार्यालयले प्रदान गर्ने सेवा एकै स्थानबाट सुरु भएको छ । विगतमा भूमिमा हुने कामका लागि सेवाग्राही पुग्दा कर्मचारी मालपोत कार्यालयमा गएको र मालपोत कार्यालयमा कामका लागि पुग्ने सेवाग्राहीलाई कर्मचारी भूमि सुधार कार्यालय गएको व्यवहार कर्मचारीले देखाउने गर्दा सेवाग्राही निकै मर्कामा पर्ने गरेका थिए । विसं २०१३ मा निर्माण भएको मालपोत कार्यालयमा भूमि सुधार कार्यालय पनि सञ्चालनमा आउँदा केही समस्या भए पनि त्यसलाई निराकरण गर्दै जाने मालपोत कार्यालयका प्रमुख लोकबहादुर भण्डारीले जानकारी दिनुभयो । मालपोतको सेवा अनलाइन भइसकेको छ र केही दिनपछि भूमि सेवा केन्द्र पनि अनलाइनबाट नै सञ्चालन हुँदा सेवाग्राहीको धेरै समस्या समाधार हुने प्रमुख भण्डारीले आज यहाँ पत्रकारसँगको अन्तक्र्रिया कार्यक्रममा बताए। उनले कार्यालयलाई व्यवस्थित एवं मर्यादित बनाउन सबै कर्मचारीको बल र प्रयासबाट मात्र सम्भव हुने भन्दै मालपोतसँग जोडिएका लेखापढी व्यवसायी पनि काममा इमान्दार बन्नुपर्ने धारणा राखेका छन्। अहिलेको स्थानमा रहेको मालपोतले ओगटेको जग्गा जिल्ला अदालतलाई हस्तान्तरण भइसकेको जानकारी दिँदै प्रमुख भण्डारीले अब बन्ने मालपोतको भवन सुविधा सम्पन्न हुने र यसबाट सेवाग्राहीलाई सहज हुने धारणा राखेका छन् । गएको आर्थिक वर्षमा रु एक अर्ब २४ करोड राजस्व सङ्कलन गर्न सफल यो कार्यालयमा केही दाता एवं स्थानीय तहको सहयोगमा नागरिक विश्राम कक्ष र शौचालय निर्माणका हुनुका साथै कार्यालयमा बाहिरिया पस्न नदिन सबैतिर सिसाले घेरबार गरिएको प्रमुख भण्डारीले बताए।
घट्यो कुखुराको मासुको मूल्य काठमाडौं । बजारमा उत्पादन बढेपछि ब्रोइलर कुखुराको मासुको मूल्य घट्ने क्रम जारी छ। कुखुरा बिक्री व्यवसायी संघका अनुसार हाल बजारमा कुखुराको तयारी मासुको मूल्य प्रतिकिलो ३१० रुपैयाँमा आइपुगेको छ । यसअघि, कुखुराको मासुको मूल्य प्रतिकिलो ३८० रुपैयाँसम्म थियो । संघले उत्पादन बढेपछि मूल्य घट्न थालेको बताएको छ । मूल्य घट्न थालेपछि किसानले जिउँदो कुखुराको मूल्य प्रतिकिलो २२० रुपैयाँ पाउन थालेका छन् ।
जुवा खालबाट आठ जना पक्राउ काठमाण्डौं । इलाका प्रहरी कार्यालय खैरहनीले आठ जना जुवाडेलाई नगद रु एक लाख ४४ हजार १७० सहित पक्राउ गरेको छ । खैरहनी नगरपालिका–८ लक्ष्मीनगरस्थित कृष्ण श्रेष्ठको घरबाट ४१ वर्षीय घर धनी श्रेष्ठ खैरहनी नगरपालिका–६ का ४४ वर्षीय नवीन श्रेष्ठ, खैरहनी ८ का ४१ वर्षीय विष्णु सुनार, राप्ती नगरपालिका–६ का ३९ वर्षीय सुदिप गिरी, वर्ष २८ का दिपेश बर्तौला, राप्ती ३ का ३६ वर्षीय चुडामणि थपलिया, राप्ती ४ का ६८ वर्षीय केशवप्रसाद तिमिल्सिना र वडा नं ५ का ३५ वर्षीय सुदन धरेललाई मङ्गलबार साँझ कैडा खेलिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जानकारी दिए  । उनीहरुको साथबाट एक बुक ताससमेत फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए।
ब्रा देखाउँदै एयरपोर्ट पुग्ने अभिनेत्री फेरि मोजाको ब्रा लगाएर सडकमा निस्किइन् (तस्वीरहरु) काठमाडौं। बिग बोस ओटीटी फेम उर्फी जावेद सानो पर्दाकी चर्चित अभिनेत्री हुन् । हालै बिग बोसमा देखिएकी उर्फी पहिलो हप्तामै आउट भइन् । शोबाट बाहिरिएपछि उनी आफ्नो ड्रेसअपका कारण लगातार ट्रोल भइरहेकी छिन् । पछिल्लो समय उर्फी सामाजिक संजालमा निकै सक्रिय देखिएकी छिन् । हालै एयरपोर्टमा ब्रा देखाउँदै पुगेका कारण उनलाई निकै ट्रोल गरिएको थियो । अहिले फेरि उनी मोजाको ब्रा बनाएर लगाएपछि फेरि ट्रोलरको निशानामा परेकी छिन् । मंगलबार उर्फीले बैजनीको पेन्टसँग गाढा बैजनी रंगको मोजालाई ब्राको रुपमा लगाएर पोज दिइन् । यो पालुकमा उनले पापाराजीलाई पनि पोज दिइन् । यसपछि उनको फोटो र भिडियोलाई लिएर निकै ट्रोल गरिएको छ । A post shared by Instant Bollywood (@instantbollywood) स्वयं उर्फीले पनि यो लुकमा कैयौं फोटोहरु शेयर गरेकी छिन् । फोटो शेयर गर्दै उनले आफूले मोजाको ब्रा बनाएको र टिसर्टलाई काटेर आफ्नो यो नयाँ आउटफिट बनाएको बताएकी छिन् । सामाजिक संजालमा केहीले उनको सिर्जनशीलताको तारिफ गरेका छन् भने केहीले उनलाई ट्रोल गरेका छन् ।
दुई वरिष्ठ तालिबान नेताबीच राष्ट्रपति भवनमा ‘चर्काचर्की, समर्थकबीच झगडा’ काबुल (बीबीसी)। तालिबान नेताहरूबीच अफगानिस्तानमा नयाँ सरकारको संरचनाको विषयमा एउटा ठूलो विवाद उत्पन्न भएको वरिष्ठ तालिबान नेताहरूले बीबीसीलाई बताएका छन्। राष्ट्रपति भवनमा उक्त लडाकु समूहका सहसंस्थापक मुल्लाह अब्दुल गनी बरादर र एक मन्त्रीबीच चर्काचर्की परेको उनीहरूले बताएका हुन्। बरादर सार्वजनिक रूपमा देखा नपरेकाले तालिबान नेतृत्वमा मतभेद रहेको अपुष्ट विवरण आएको थियो। तर यसलाई औपचारिक रूपमा भने अस्वीकार गरिएको छ। गत महिना तालिबानले अफगानिस्तानमा नियन्त्रण कायम गरेको थियो। त्यसपछि उक्त अतिवादी इस्लामिक समूहले देशलाई “इस्लामिक इमिरात” घोषणा गरेको छ। नवगठित अन्तरिम मन्त्रिपरिषद्‌मा सबै सदस्य पुरूष छन्। सरकारमा वरिष्ठ तालिबान नेताहरू छन्। तीमध्ये केही विगत दुई दशकमा अमेरिकी सेनामाथि गरिएका आक्रमणका लागि कुख्यात मानिन्छन्। एकजना तालिबान स्रोतले बीबीसी पाश्तोलाई बताए अनुसार बरादर र हक्कानी लडाकु समूहका प्रभावशाली नेता एवं शरणार्थी मामिला हेर्ने मन्त्री खलिल उर-रहमान हक्कानीबीच चर्काचर्की भएको थियो। इस्लामाबादस्थित बीबीसी संवाददाता खुदाई नूर नसरका अनुसार उनीहरूका समर्थकबीच पनि त्यहाँ झगडा भएको बताइन्छ। कतारमा रहेका एकजना वरिष्ठ तालिबान सदस्य र विवादमा संलग्न पक्षसँग सम्बन्ध भएका अर्का एक स्रोतले त्यस्तो चर्काचर्की गत साताको अन्त्यतिर भएको पुष्टि गरेका छन्। विवादको कारण के हो? स्रोतहरूका अनुसार त्यस्तो विवाद नयाँ उपप्रधानमन्त्री बरादर अन्तरिम सरकारको संरचनासँग असन्तुष्ट भएसँगै सिर्जना भएको बताइएको छ। अफगानिस्तानमा तालिबानको जितको श्रेय कसलाई दिने भन्ने विषयमा विवाद सुरु भएको बताइएको छ। बरादरले आफूजस्ता व्यक्तिले कूटनीतिमा लगाएको जोडबल त्यसको कारण भएको ठानेको बताइएको छ। यद्यपि केही वरिष्ठ तालिबान नेताहरूले नेतृत्व गरेको हक्कानी समूहका सदस्यहरू र तिनका समर्थकहरू त्यस्तो सफलता युद्धबाट भएको बताउँछन्। बरादर अमेरिकी राष्ट्रपतिसँग सीधा सम्पर्क गर्ने पहिलो तालिबान नेता हुन्। उनले सन् २०२० मा डोनल्ड ट्रम्पसँग टेलिफोन संवाद गरेका थिए। त्यसअघि उनले अमेरिकी फौज फिर्ता गर्ने विषयमा दोहा सम्झौतामा तालिबानका तर्फबाट हस्ताक्षर गरेका थिए। हक्कानी सञ्जाल अफगानिस्तान र पश्चिमा देशका सेनामाथि भएका केही घातक आक्रमणहरूमा संलग्न हुने गरेको थियो। अमेरिकाले उक्त संस्थालाई आतङ्ककारी सङ्गठन मानेको छ। उक्त समूहका नेता सिराजुद्दिन हक्कानी अहिले आन्तरिक मामिला मन्त्री छन्। बरादर सार्वजनिक रूपमा बाहिर देखा पर्न छोडेपछि गत सातादेखि तालिबान नेतृत्वमा विवाद उत्पन्न भएको चर्चा चलेको थियो। सामाजिक सञ्जालमा उनको मृत्यु भएको हो कि भन्ने संशय पनि व्यक्त भएको थियो। तालिबान स्रोतले बीबीसीलाई बताएअनुसार विवादपछि बरादर काबुलबाट निस्किएर कान्दहार सहर गएका थिए। सोमवार सार्वजनिक गरिएको बरादरको एउटा श्रव्य वक्तव्यमा उनले आफू यात्रामा बाहिर गएको भनेको सुनिन्छ। उक्त सामग्री तालिबानका विभिन्न वेबसाइटहरूमा राखिएको छ। “अहिले म जहाँ छु हामी सबै जना ठिक छौँ,” उनले भनेका सुनिन्छ। यद्यपि बीबीसीले उक्त सामग्रीको आधिकारिकता पुष्टि गर्न सकेको छैन। के भन्छ तालिबान? तालिबानले कुनै विवाद नभएको दाबी गरेको छ। उसका अनुसार बरादर सुरक्षित छन्। तर उनी अहिले कहाँ छन् विषयमा तालिबानले विरोधाभासपूर्ण कुरा भनेको छ। तालिबानका एक प्रवक्ताका अनुसार बरादर तालिबानका सर्वोच्च नेतालाई भेट्न कान्दहार गएका थिए। तर पछि उनले बीबीसी पाश्तोलाई बरादर “थकित भएको र उनले विश्राम गर्न चाहेको” बताए। सन् २०१५ मा तालिबानले आफ्ना संस्थापक नेता मुल्लाह ओमारको मृत्यु दुई वर्ष लुकाएको स्वीकार गर्‍यो। तर त्यो अवधिमा तालिबानले उनको नाममा विज्ञप्ति जारी गरिरह्यो। स्रोतहरूका अनुसार बरादर काबुल फर्किने र क्यामारअगाडि बोल्दै कुनै विवाद नभएको बताएको अपेक्षा गरिएको थियो। तालिबानका सर्वोच्न नेता हिबतुल्लाह अखुन्दजादाबारे पनि संशय बाँकी छ। उनी अहिलेसम्म सार्वजनिक रूपमा देखा परेका छैनन्। उनी तालिबानको राजनीतिक, सैन्य र धार्मिक विषयका प्रमुख हुन्।
गाडी कुरिरहेकी बालिकालाई काभ्रे लगेर बलात्कार काठमाण्डौं । गाडी पर्खाइमा बसिरहेकी एक बालिकालाई गन्तव्यमा पुर्‍याइदिन्छु भन्दै गाडी भित्रै बलात्कार गर्ने दुईजना पक्राउ परेका छन् । भदौ २६ गते भक्तपुरको श्रृजनानगर स्थित सडकमा पूर्वतर्फ जानको लागि बालिका गाडी कुरिरहेकी थिइन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार भक्तपुरबाट ट्रकमा लगेर काभ्रेमा चालक र सहचालकले बलात्कार गरेका हुन्। ट्रक चालक झापा हल्दीबारी गाउँपालिका ५ का ३२ वर्षीय हर्कबहादुर बिश्वकर्मा र सह–चालक जिल्ला मोरङ उर्लाबारी नगरपालिका १ का १८ वर्षीय निदिप धिमाललाई पक्राउ गरेको हो। उनीहरुले ट्रकमा गन्तव्यसम्म पुर्याईदिने भनि उनलाई चढाएका थिए। काभ्रेपलान्चोकको बनेपा १२ स्थित साझा पेट्रोल पम्प अगाडि रोकेर गाडी भित्रै चालक र सहचालकले पालैपालो बलात्कार गरेको प्रहरीले जनाएको छ। अनुसन्धानका क्रममा प्रदेश २–०३–००१ ख १४८५ नम्बरको भाडाको ट्रक खुलेको र उक्त ट्रक मोरङबाट बीपी राजमार्गको बाटो हुँदै काठमाडौं तर्फ आउँदै छ भन्ने सूचनाको आधारमा मंगलबार प्रहरीले धुलीखेल चोकबाट नियन्त्रणमा लिएको हो। प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूको संलग्नता पुष्टि भएको प्रहरीले दाबी गरेको छ। पीडितबाट जबरजस्ती करणी सम्बन्धी कसूरमा किटानी जाहेरी लिई काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
यस्तो छ आजको मौसम पूर्वानुमान काठमाण्डौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज पहिलेको तुलनामा मौसम केही परिवर्तन भइ काठमाडौं उपत्यकालगायत धेरै क्षेत्रमा बिहानैदेखि मौसम सफा देखाएको छ । तर, केही प्रदेशका उच्च तथा हिमाली भेगमा र तराइका केही क्षेत्रमा भने वर्षा र चट्याङसहित हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ । मंगलबार दिउँसोमा देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। त्यस्तै, रातीमा देशभर आंशिक देखि सामान्य बदली रही बाग्मती, गण्डकी प्रदेशका केही र बांकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
म्याद नाघेका र अखाद्य वस्तु ज्यादा, बजारमा अनुगमन तीव्र काठमाण्डौं । सल्यान बजारमा जिल्ला प्रशासन कार्यलयले बजार अनुगमन कडाइ गरेको छ । उपभोक्ताहरुलाई ठगिन नदिन र म्याद नाघेको सामान बिक्रि गर्न बाट रोक्नका लागि जिल्ला प्रशासनले बजार अनुगमन गरेको हो । बिभिन्न चाडपर्व, मेलामहोत्सवमा ब्यापारीले धेरै सामानहरु खरिद गरी स्टक राख्ने गरेकोले त्यस्ता सामानको म्याद सकिए पनि व्यापारी तथा ग्राहकले ध्यान नदिई खरिद बिक्री गर्ने हुँदा बजार अनुगमनलाई कडाईका साथ लैजाने प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेबि होमागाईले बताइन् । अधिकारी होमागाईको नेतृत्वमा जिल्लाको प्रमुख व्यापारी केन्द्र श्रीनगरमा रहेका किराना पसल, खाद्यान्न पसल, तरकारी पसल, फलफुल पसल र मासु पसलहरुमा अनुगमन गरिएको छ । अनुगमनका क्रममा धेरैजसो पसलहरुमा म्याद नाघेका सामान र इजाजत प्राप्त नलिई पसलहरु संचालन गरेको पाईएको  होमागाईले बताइन् ।
जाजरकोटमा गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु, पाँच घाइते काठमाण्डौं । जाजरकोटका फोर्स गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । नलगाडबाट बारेकोट जाँदै गरेको भे १ ज ९८७ नम्बरको फोर्स गाडी नलगाड नगरपालिका ५ गेरेनी नजिकै दुर्घटना भएको हो। दुर्घटनामा परी मृत्यु हुनेमा बारेकोट गाउँपालिका २ की ४५ वर्षीया शान्ति रोकाया छन् भने अर्का एक युवाको भने पहिचान खुल्न बाँकी रहेको जाजरकोटका डीएसपी मधुकुमार थापाले जानकारी दिए। उनीहरूको घटनास्थलमा नै मृत्यु भएको हो। उनका अनुसार अर्का एक जनाको पहिचान खुलेको छैन।  घाइतेहरूलाई दल्लीस्थित स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। गाडीमा कति सवार थिए भन्ने पनि स्पष्ट खुल्न सकेको छैन। गाडी सडकमै पल्टिएको प्रहरीले जनाएको छ। दुर्घटनापछि चालक फरार रहेको डिएसपी थापाले बताए।
८५ सहसचिवको सरुवा (सूचीसहित) काठमाडौं । सरकारले ८५ जना सहसचिवको सरुवा गरेको छ । १३ जना शिक्षा सेवा, ५ जना वन सेवा, ९ जना इन्जिनियरिङ र ५४ जना प्रशासन सेवा गरी ८५ जना सहसचिवको सरुवा भएको हो । मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीका अनुसार मन्त्रीस्तरीय निर्णय गर्दै उक्त सरुवा गरिएको हो । उक्त मन्त्रालयको जिम्मेवारी अहिले प्रधानमन्त्री शेरबहादुर देउवाले नै सम्हाल्दै आएका कारण मन्त्रीको हैसियतमा देउवाको हस्ताक्षरबाट सहसचिवहरूको सरुवा गरिएको हो । सरुवा गरिएका धेरै सहसचिवलाई प्रदेशका विभिन्न मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको छ । हेर्नुहोस् को कहाँ सरुवा भए ?
चोरी भएर अमेरिकाको संग्रहालयमा राखिएको उमामहेश्वरको मूर्ति नेपालले फिर्ता पायो काठमाडौं। नेपालको पाटनबाट चोरी भएर अमेरिकाको संग्रहालयमा राखिएको उमामहेश्वरको प्राचीन मूर्ति नेपालले फिर्ता पाएको छ । अमेरिकाको कोलोराडो राज्यको डेनभरमा रहेको डेनभर आर्ट म्युजियमले यो मूर्ति अमेरिकाको वाशिङटनस्थित नेपाली दूतावासलाई हस्तान्तरण गरेको थियो । यो मूर्ति करिब ५० वर्षअघि पाटनबाट चोरी भएको थियो । The Embassy of Nepal received today the statue of “UmaMaheshvara” handed over by the representative of the Denver Art Museum in Denver, Colorado. The historical artifact, originally from Patan, Lalitpur, Nepal, had been on display at Denver Art Museum approximately since 1975. pic.twitter.com/Mf1B9dr6Ai — Embassy of Nepal, Washington, D.C. (@nepalembassyusa) September 13, 2021 यो मूर्ति अमेरिकाको संग्रहालयमा प्रदर्शनमा राखिएको खुलासा भएपछि पछिल्लो समय अभियन्ताहरुले यसलाई फिर्ता ल्याउन पहल गरिरहेका थिए । यो मूर्ति संग्रहालयमा सन् १९७५ देखि प्रदर्शनीमा राखिएको बताइएको छ । दूतावासले मूर्ति प्राप्त गरेपछि अब यसलाई छिटै नेपाल ल्याइने बताएको छ । मूर्ति प्राप्त गरेपछि अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडाले संग्रहालयका प्रतिनिधिलाई धन्यवाद दिएको बताइएको छ ।
बहराइनमा आन्दोलनरत नेपालीलाई स्वदेश फिर्तीका लागि पहल काठमाडौं । बहराइनस्थित एन.एच.एस.कम्पनीमा कार्यरत नेपाली श्रमिकहरुलाई स्वदेश फिर्तीका लागि प्रक्रिया थालिएको छ । बहराइनमा रहेको नेपाली दूतावासका अनुसार सो कम्पनी व्यवस्थापकसँग भएको विवादपछि स्वदेश फर्कन चाहने आन्दोलनरत नेपाली श्रमिकलाई स्वदेश फिर्तीका लागि पहल भएको हो । कम्पनीमा विभिन्न समस्याहरू भएपछि एनएसएच कम्पनीमा कार्यरत ७ सयभन्दा धेरै श्रमिक काम छाडेर आन्दोलनमा उत्रिएका थिए । श्रमिकहरूले काम छाडेर आन्दोलन थालेपछि दूतावासले समस्या समाधानको बाटो अघि बढाएको थियो । उनीहरुलाई स्वदेश फिर्तीका लागि नयाँ ठाउँमा स्थानान्तरणसमेत गरिसकिएको दूतावासले जनाएको छ । यहि सेप्टेम्बर १२ मा दूतावास, बहराइनको श्रम मन्त्रालय र कम्पनीका पदाधिकारीको रोहवरमा घर फर्कन चाहने श्रमिकलाई स्वदेश फिर्तीको सहजीकरणको लागि स्थानान्तरण गरिएको हो । त्यस्तै, श्रमिकले नियम अनुसार पाउनु पर्ने सेवा सुविधाहरुका सम्बन्धमा हिसाब मिलाएर मात्रै नेपाल पठाइने दूतावासले जनाएको छ । दूतावासका अनुसार नेपाली श्रमिकको समस्या समाधानका लागि बहराइन सरकारसमेत सकारात्मक देखिएकाले स्वदेश आउन चाहने नेपाली श्रमिकले अब चाँडै आफ्नो देश आउन पाउने छन् । साथै, दूतावासले एनएसएस वा बहराइन कै अन्य स्थानमा कार्यरत नेपाली श्रमिकलाई त्यहाँको नियम पूर्ण पालना गर्दै नेपाल र बहराइनबिचको मित्रवत सम्बन्धमा थप टेवा पुर्याउने गरी काम गर्न अनुरोध गरेको छ ।
‘तोरी खायो मौरीले’ गीतको शब्दप्रति मौरीपालक संघको आपत्ति ‘हान्छु तिम्लाई लौरी’ले भन्ने गीतमा ‘तोरी खायो मौरीले’ शब्द प्रयोग भएकोप्रति आपत्ति जनाइएको छ। शुभारम्भ डिजिटल म्यूजिकले सार्वजनिक गरेको तीजका गीतमा सो शब्द प्रयोग गरिएको थियो। नेपाल मौरीपालक महासङ्घले आइतबार साँझ एक विज्ञप्ति जारी गरी उक्त शब्दले मौरीपालक किसानलाई दुखितसँगै अन्यौलता सिर्जना गरेको जनाएको छ। महासङ्घका अध्यक्ष शिवप्रसाद शर्मा पौडेलले विज्ञप्ति जारी गरी मौरीले तोरीको परागशेचनमा सहयोग गर्नेमा झन तोरी खायो भनेर गलत सन्देश दिएको जनाउँदै गीतले वैज्ञानिक तथ्य र अरुको अधिकारप्रति खेलवाड गरेको जनाएका छन्। यसले आफ्ने अधिकार प्रयोग गर्ने नाममा भ्रामक कुरा सार्वजनिक गरेकोमा महासङ्घले खेद प्रकट गर्दै कारबाहीका लागि सरकारको ध्यानाकर्षण गराएको छ । गीत सच्याउन पनि माग गरिएको छ। महासङ्घले तोरीमा मौरी विचरण गर्दा ३० प्रतिशत बढी उत्पादन वृद्धि भएको प्रयोगात्मक तथ्य रहेको समेत जानकारी गराएको छ। रासस
‘१०० प्रतिशत जब ग्यारेन्टी, मासिक २५ हजार तलब!’ भन्दै २५ सय जनालाई थाङ्नामा सुताए काठमाण्डौं । सामाजिक संजाल फेसबुकमार्फत आकर्षक जागिर मिलाइदिने भन्दै ४ हजार ५ सय जनालाई ठगी गर्ने एक व्यक्ती पक्राउ परेका छन्। ‘१०० प्रतिशत जब ग्यारेन्टी, मासिक २५ हजार तलब!’ भन्दै फर्म शुल्क २ हजार ५ सय रुपैयाँ प्रत्यक व्यक्तीबाट उठाउँदै आएका कृष्णप्रसाद पौडेल पीडितहरुको जाहेरीको आधारमा प्रहरीले पक्राउ गरिसकेको छ स्याङ्जा फेदीखोला ४ स्थाई ठेगाना भएका २१ वर्षीय पौडेल फेसबुकमै राखेको विज्ञापनले विभिन्न जिल्लाका युवाहरुलाई ठगेको पीडितहरुले बताएका छन्। सुरुवातमा २ हजार ५ सय तिरेर फाराम भर्ने अन्तर्वार्ता लिइने र पछि कल आउने जानकारी ठगिएका युवाहरूलाई पौडेलले बताएका थिए। उनले अन्तर्वार्ता भनेर कसैलाई फेल गराउने, पास भएकालाई पनि जागिर नलगाउने गरेका थिए। पौडेलले फेल भएकालाई अर्को पदमा जागिर लगाउने बताउँदै पुनस् फाराम भर्न समेत लगाउथे। पौडेलको उक्त व्यवहार पछि युवाहरू इलाका प्रहरी कार्यालय शिशुवामा जाहेरी दिन गएका थिए। युवाहरू नै त्यसरी ठगिएको भन्दै जाहेरी दिन गएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। सय बढी पीडित युवाहरूले शुक्रवार प्रहरी कार्यालय कास्कीमा धर्ना दिन पुगेपनि आइतवारमात्र जाहेरी परेको हो। आइतवार पनि पीडितहरु प्रहरी कार्यालय पुगेका थिए। पीडितहरुको आरोप अनुसार पौडेलले जनही २ हजार ५ सयको दरले एक करोड १२ लाख ५० हजार ठगी गरेको देखिन्छ। तर, पौडेलले भने आफुले १७ लाख उठाएको स्वीकार गरेका छन्।
दोलखाको नाम्डु केन्द्रविन्दू भएर परकम्प काठमाण्डौं ।  दोलखाको नाम्डु केन्द्रविन्दू भएर भर्खरै भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज साँझ ८ बजेर ४१ मीनेट जाँदा दोलखाको नाम्डु केन्द्रविन्दू भएर ४.३ म्याग्नीच्यूटको भूकम्प गएको हो । आज साँझ गएको भूकम्प गोरखा भूकम्पको परकम्प भएको सो केन्द्रले जनाएको छ ।
भारतमा नोट छाप्‍ने, नेपालमा कारोबार चलाउने ५ पक्राउ काठमाण्डौं । बारा र रौतहटबाट नक्कली नेपाली नोटको कारोबार गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाली नक्कली नोट कारोवार हुँदै गरेको थाहापाएपछि प्रहरीको स्पेसल टास्क फोर्स शनिबार बिहान निजगढ पुगेको थियो । प्रहरीले ९३ लाख नक्कली नेपाली रुपैयाँसहित उनीहरुलाई पक्राउ गरेको हो । काठमाडौँबाट आएको व्युरोको टोलीले जिल्लाको निजगढस्थित होटल तारा इनबाट नक्कली नोंटको कारोबारमा संलग्न ३ जनालाई नियन्त्रणमा लिए पछि थप २ जना रौतहटको गुजरा नगरपालिका वडा नं.२ बाट दिउँसो ३ बजे पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट नेपाली एक हजार दरको नक्कली र सक्कली नोट मिसाएर राखिएको ९३ लाख रुपैयाँ बरामद गरेको छ । पक्राउ परेका व्यक्तिहरुले प्रयोग गर्ने बा १४ च ९३८२ नम्बरको स्कार्पियो गाडी पनि प्रहरीले नियन्त्रण लिएको छ । पक्राउ परेका पाँचै जनालाई शनिबार राति होटल तारा इनमै राखेर आइतबार बिहान मात्र बाराको कलैयास्थित जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ । पक्राउ परेका व्याक्तिहरुको परिचय भने प्रहरीले गोप्य राखेको छ ।
प्रतिस्थापन बजेटबारे नाडाः नेपालमा अब अटोमोबाइल उद्योगहरूको उदय हुनेछ काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आर्थिक वर्ष २०७८/७९ को प्रतिस्थापन बजेटको स्वागत गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन बजेट मार्फत एसेम्बल गरी नेपालमा सवारी साधन उत्पदान गर्ने उद्योगले उत्पादन गरेको तयारी साधन बिक्री गर्दा लाग्ने अन्तशुल्क महशुलमा ५० प्रतिशत छुट दिने निर्णय उद्योग र ग्राहकको हितमा भएको नाडाले जनाएको छ । प्रतिस्थापन बजेट मार्फत एसेम्बल गरी नेपालमा सवारी साधन उत्पादन गर्ने उद्योगले अनएसेम्बल अवस्थाका शीर्षक ८७.०२, ८७.०३ र ८७.११ मा पर्ने सवारी साधन पैठारी गर्दा लाग्ने अन्तःशुल्क र त्यस्ता उद्योगले उत्पादन गरेको तयारी साधन विक्री गर्दा लाग्ने अन्तःशुल्क महसुलमा ५० प्रतिशत छुट दिने स्पष्ट व्यवस्था गरिएकोमा नाडाले त्यसको स्वागत गरेको हो । ‘नाडाले सो निर्णय नेपालमा सवारी साधन एसेम्बलिङ्ग उद्योग स्थापनाका लागि कोशेढुङ्गा साबित हुने अपेक्षा समेत राखेको छ,’ अध्यक्ष कृष्णप्रसाद दुलालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘तर त्यस्ता सवारी साधनहरू उत्पादन गर्ने एसेम्बलिङ्ग उद्योग सञ्चालन गर्नका लागि त्यससँग सम्बन्धित ऐन र नीति नियमहरूको स्थिरता पनि त्यतिकै महत्त्वपूर्ण हुने सन्दर्भमा सरकार परिवर्तन हुँदैमा त्यस्ता उद्योगहरुलाई कुनै असर पर्न हुँदैन भन्ने कुरामा नाडा विश्वास राख्दछ ।’ तर त्यस्ता सवारी साधनहरु उत्पादन गर्ने एसेम्बलिङ्ग उद्योग सञ्चालन गर्नका लागि त्यससँग सम्बन्धित ऐन र नीति नियमहरुको स्थिरता पनि त्यतिकै महत्वपूर्ण हुने नाडाको भनाई छ। नाडाले झण्डै एक दशक अघिदेखि नै आफना बजेट सम्बन्धी सुझावहरुमार्फत निरन्तर रुपमा सरकारलाई नेपालमा सवारी साधन उत्पादन गर्ने एसेम्बल उद्योग स्थापनाका लागि अन्तशुल्क र भन्सार महशुल दुवैमा ५० प्रतिशत छुट दिन अनुरोध गर्दे आएको थियो। वर्तमान बजेटले मोटरसाइकलको सेगमेण्टमा परिवर्तन गर्दै सडक निर्माण दस्तुर र अन्तःशुल्क महशुल दुवैमा बृद्धि समेत गरेको छ। मोटरसाइकलको सेगमेण्टमा भइरहने परिवर्तनले मोटरसाइकल प्रयोगकर्तालाई थप आर्थिक भार मात्र पर्ने नभई अलमलमा समेत पर्ने नाडाको भनाई छ। सरकारले गत वर्ष कायम गरेको सेगमेण्टलाई नै निरन्तरता दिने व्यवस्थाका लागि पनि नाडाले सरकारसँग आग्रह गरेको छ।
ठेक्काको छ वर्षमा पनि पूरा भएन जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक काठमाडौं । जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक बिस्तार शुरु भएको छ वर्ष बितिसक्दा पनि सम्पन्न नहुँदा खाल्डा खुल्डीले सवारी सञ्चालनमा समस्या हुने गरेको छ । खाल्डा खुल्डीमा बनेको पोखरीले यात्रु एवं स्थानीयवासीले दुःख पाएको गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गानाले बताए । सङ्घीय सरकारले ठेक्का गरेको आयोजनाका निर्माण व्यवसायीले स्थानीय सरकारलाई नटेर्दा जीर्ण सडकमा समस्या हुने गरको उनको भनाइ छ । अस्पतालजस्तो संवेदनशील स्थानअघिको सडकलाई ग्राभेल हालेर सहज रुपमा सवारी हिँड्ने वातावरण बनाउन पटकपटक गरिएको अनुरोधसमेत नमान्दा धेरैले दुःख पाएका छन् । आर्थिक वर्ष २०७५।७६ मै सक्ने गरी विसं २०७२ मै ठेक्का भएको सात किमी सडक छ वर्षदेखि अलपत्र छ । शुरुमा सडकको दायाँबायाँ घर भएका स्थानीयवासीले मुआब्जा नदिई काम अघि बढाउन नदिने भनी बिरोध गरेपछि बिस्तार हुन सकेको थिएन । केन्द्रबिन्दुबाट दायाँबायाँ ११.११ मिटर गरी २२ मिटरको सडक बनाउने ठेक्का काठमाडौँ उपत्यका सडक बिस्तार आयोजनाले गरेको थियो । सात किमीको दूरीमा पर्ने करिब ९०० घरका धनीले ठेक्का अनुसार बिस्तार गर्ने भए मुआब्जा दिनुपर्ने माग गरेपछि घर भएको स्थानमा केन्द्रबिन्दुबाट दायाँबायाँ सात।सात मिटर बिस्तार गर्ने, सार्वजनिक जग्गा भएका स्थानमा भने ११.११ मिटर नै बिस्तार गर्ने सहमति भएको नगरपालिकाका प्रवक्ता ढुङ्गानाले जानकारी दिए । यो सहमति अनुसार पनि ठाउँ ठाउँमा काम रोकिँदा वर्षौँदेखि यात्रु पीडित छन् । अत्तरखेल मूल सडकमा सटर भाडामा लिएर किराना पसल चलाउँदै आउनुभएकी रञ्जना श्रेष्ठ वर्षाद्मा हिलो र हिउँदमा धुलो खाएर स्वास्थ्य सङ्कट आउने गरेको गुनासो गर्नुहुन्छ । नगरपालिकाले केन्द्रबिन्दुबाट दायाँबायाँ सात।सात मिटर बिस्तार गर्ने सहमति गरेको दुई वर्षसम्म पनि सडक अलपत्र छ । आर्थिक वर्ष २०७६/७७ सक्ने सहमति नभई थप गरिएको एक वर्षमा पनि काम सकिएन । आर्थिक वर्ष २०७७।७८ को अन्त्यसम्म काम सक्ने गरी म्याद थपिएको थियो । त्यो अवधिमा पनि काम सकिएन । रु ५८ करोड लागतमा भइरहेको काममा बेला बखत समस्या आउने गरेकाले काममा ढिलाइ भएको बिस्तार आयोजनाका अधिकारीले बताउने गरेका छन् । विसं २०७६ चैतमा शुरु भएको बन्दाबन्दीका क्रममा सडकमा पर्ने रुख हटाए पनि विद्युत्को पोल, तारलगायत संरचना अझै हटेको छैन । सडकको काम नसकिँदा यस वर्ष पनि वर्षाद्का समयमा हिलो र हिउँदमा धुलोमा यात्रा गर्न बाध्य हुनुपर्ने अवस्था आएको स्थानीयवासी डबले तामाङले गुनासो गरे । ग्राभेल हालेर डोजर र रोलरले सम्याएर वर्षाका समयमा हिलो एवं धुलो नहुने गरी काम गराउन नगरपालिकाले दबाब दिँदै आएको जनाइएको छ । निर्माणको ठेक्का पाएको सिएम कन्स्ट्रक्सनका इञ्जिनीयर सनम श्रेष्ठ बन्दाबन्दी शुरु भएपछि सुरक्षित तरीकाले काम गर्न कामदार पाउन नसकिएकाले काममा ढिलाइ भएको बताए । पछिल्लो समय अन्य स्थानमा ग्राभेल हाले हिँडन सजिलो बनाएपछि नेपाल मेडिकल कलेजअघिको सडक अलपत्र छोड्दा एम्बुलेन्समा यात्रा गर्ने बिरामीसमेत प्रभावित हुने गरेका छन् । अस्पताल अगाडिकै सडकमा बनेको खाल्डा खुल्डीमा पानी जमेर ठूला पोखरी बनेपनि सरोकार भएका निकायको ध्यान नजाँदा समस्या भएको स्थानीय बुद्धिमान तामाङले बताए ।
राति चालकलाई कुटेर गाडी लिएर भागे, बिहान दुर्घटनामा परे ! काठमाडौं । भनिन्छ पाप  धुरीबाट कराउँछ । यस्तै भएको छ दुई युवक माथी । प्रंशग रहेको छ मारुदिन मियाँ र नबिब आलमका । शनिबार उनीहरुले चालकलाई कुटेर सोहि गाडी लिएर भागे तर, बिहान उनीहरु दुर्घटनामा परेका छन् । काठमाडौंबाट जनकपुरधाम जाने क्रममा बाँकेको जङ्गलमा पुगेपछि सेवाग्राहीद्वय मारुदिन र नबिबले सवारी चालक रोशन खरेलमाथि एक्कासी आक्रमण गरे । उनीहरूले चालकमाथि हातमुक्कासहित गाडीमै राखिएको रड्ले प्रहार गरे । चालक बेहोस भए । उनीहरूले चालक खरेललाई गाडीबाट जंङ्गलमा फालिदिए । अनि आफूहरू चाहिँ सोही गाडी लिएर जनकपुरतर्फ आए । तर, तीव्र गतिका कारण उनीहरू चढेको गाडी क्षीरेश्वरनाथ नगरपालिका हरिहरपुरमा दुर्घटना भयो । खासै चोटपटक लागेन । उनीहरू गाडीलाई त्यही छाडेर अटोरिक्सा चढेर धनुषाधामतर्फ लागे । त्यतिबेलासम्म चालक खरेलले प्रहरीलाई खबर गरिसकेका थिए । “म गाडी चलाउँदै गर्दा कुटपिट गर्न थाले । जथाभाबी कुट्न थालेपछि मैले बेहोस भएको नाटक गरेँ,” उनले भने, “म बेहोस भएको बाहना गर्दा पनि कुटे । तर, कुट्नुभन्दा पनि उनीहरू भाग्न खोज्दै थिए । मैले भाग्न दिएँ ।”
२१ वर्षीय युवकको जोश, डिउटीमा खटेका प्रहरीलाई नै हातपात काठमाडौं। बाजुरामा डिउटीमा खटेका प्रहरीलाई नै हातपात गरेपछि एक युवक प्रहरीको फन्दामा परेका छन् । बुढिगंगा नगरपालिका ८ बस्ने २१ वर्षीय प्रकाश कुँवरले प्रहरीलाई हातपात गरेको अभियोगमा शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट रिठाबजार बाजुराबाट खटिएको प्रहरीले सवारी जाँच गर्ने क्रममा उनले सवारी साधन किन जाँच गर्नु पर्यो, नगरे के हुन्छ भनि विवाद गरी हातपात समेत गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
संखुवासभा हत्या प्रकरणका आरोपी सार्वजानिक काठमाडौं। प्रहरीले संखुवासभाको मादी–१ उम्लिङ खोलागाउँका तेजबहादुर कार्कीसहित परिवारका ६ जनाको हत्याको आरोपमा पक्राउ परेका लोकबहादुर कार्कीलाई सार्वजनिक गरेको छ । आइतबार चैनपुर इलाका प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी २६ वर्षीय लोकबहादुर कार्कीलाई आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।उनी मृतकमध्ये तेजबहादुरको भतिजा रहेको प्रहरीले बताएको छ । चिर्पटले हानेर सबैको हत्या गरेको लोकबहादुरले स्वीकार गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ। गत सोमबार बिहान तेजबहादुर कार्की, उनकी श्रीमती मनमाया, आमा पार्वती, बुहारी रञ्जना, नाति दीपक र नातिनी गोमाको हत्या भएको अवस्थामा शव फेला परेको थियो ।
शिक्षक शिक्षिकाको कुटाइबाट विद्यार्थीको हात भाँचियो काठमाण्डौं । जनकपुरधाम उपमहानगरपालिका–४ बसहिया रोडमा रहेको स्वस्तिक इङ्ग्लिस बोर्डिङ्ग स्कूलका शिक्षिका र शिक्षकको कुटाइबाट एक विद्यार्थीको हात भाँचिएको छ। भदौ २४ गते गृहकार्य नगरेको भन्दै शिक्षिका शोभा साह र शिक्षक रब्बानि हुसैनले कक्षा ४ मा अध्ययनरत सिद्धार्थ ठाकुरलाई निर्घात कुटपिट गरेको खुलेको छ। कुटपिटबाट सिद्धार्थको दाहिने हात भाँच्चिएको छ। उनी अहिले उपचाररत रहेको परिवारले जनाएको छ। भदौ २३ गते पनि गृहकार्य नगरेको भन्दै शिक्षिका साहले उनलाई पाइपले पिटेको सिद्धार्थका बुवा जितेन्द्र ठाकुरले बताए। कुटपिट गर्नेहरू दम्पत्ति हुन्। एक्सरे गर्दा उनको हड्डि भाँचिएको पत्तालागेको सिद्धार्थले बताए। शोभाले उनलाई पिटेको स्वीकार्दै उपचारमा लाग्ने खर्च व्यहोर्ने बताएको सिद्धार्थले जानकारी दिए। ‘मेरो छोरो पढाइमा पनि राम्रै थियो, बानी बेहोरा पनि राम्रै छ,’ उनले भने, ‘मैले त छोरोलाई पढ्न पठाएको हो, तर हात भाँचेर घर फर्कंदा मन दुख्यो ।’ स्कुलमा यसरी अमानवीय तरिकाले विद्यार्थीलाई कुटपिट गर्नु कानूनी र सामाजिक अपराध रहेको उनले बताए । विद्यार्थीका अभिभावकले स्कुलको अबिलम्ब दर्ता खारेज र कुटपिट गर्ने शिक्षकमाथि कारबाही तथा उपचार खर्च उपलब्ध गराउन माग गरेका छन् । बालक ठाकुरलाई कुटपिट गर्ने शिक्षिका विद्यालयका प्रधानाध्यापक श्याम सुन्दर साहाकी पत्नी हुन् । यस सम्बन्धमा स्कुलका प्रधानाध्यापक श्याम सुन्दर साहले विद्यार्थीले गृहकार्य नगरेकोले शिक्षकले सामान्य कुटपिट गर्दा संयोगवश विद्यार्थीको हात भाँचेको प्रतिक्रिया दिए । उनले उनको सबै उपचार खर्च तिर्न विद्यालय तयार रहेको समेत बताए । उनले विद्यार्थीमाथि निर्घात कुटपिट गरिएको कुरा अस्वीकार गरे । उनले शिक्षकले विद्यार्थीलाई हप्काएको हुन सक्ने तर, कुटपिट नभएको बताए । कुटपिट गरेको भनिएको शिक्षकलाई आफूले बोलाएर घटनाबारे बुझ्ने जानकारी दिए ।
मानव बेचबिखनको आरोपमा दुई महिला पक्राउ, दुई युवतीको उद्धार काठमाण्डौं । मानव वेचबिखनको आरोपमा सिराहाबाट दुई महिला पक्राउ परेका छन् । दुई युवतीलाई भारततर्फ लग्ने क्रममा उनीहरुलाई सिरहाको नरहा नगरपालिका–३ स्थित पूर्वपश्चिम राजमार्गबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । १६ र १९ वर्षका दुई युवतीलाई भारततर्फ बेचविखनको लागि लाने क्रममा प्रहरीले पूर्वपश्चिम राजमार्गअन्तर्गत नरहा नगरपालिका ३ चोहर्वाबाट सप्तरी कञ्चनरुप नगरपालिका ११ बेङगरीकी २८ वर्षीया ललिता चौधरी र सिरहा धनगढिमाई नपा १ बाखैरकी ३५ वर्षीया उषा देवी मलाहलाई पक्राउ गरेको हो। उनीहरुले ती युवतीलाई लहान आश्रममा मासिक ५० हजारको दरले काममा लगाइदिने भनी बोलाएको प्रहरीले जनाएको छ। लहान आइसकेपछि यहाँभन्दा अझै राम्रो काम जनकपुरमा पाइन्छ भन्दै ल्याएका उनीहरुलाई चोहर्वामा नै ओरालेर माडरतर्फ लान ठिक पारेको बेला प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिए। पक्राउ परेका दुवैमाथि मानव बेचविखन तथा ओसारपसार कसुरमा जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको बताइएको छ। यसमा संलग्न अन्य अभियुक्तहरुकोसमेत खोजी भइरहेको प्रहरीले जनाएको छ।
आधा करोडले लगाए कोरोनाको पूर्ण खोप काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म झण्डै ५२ लाख नागरिकले कोरोना विरुद्ध पूर्ण खोप लगाएका छन् । सरकारले दुई करोड ६५ लाख नागरिकलाई यस वर्षभित्र खोप लगाउने लक्ष्य लिए पनि हाल सम्म ५१ लाख ६० हजार पाँच सय २४ नागरिकले पूर्ण खोप लगाएका हुन् । हाल नेपालमा कोभिसील्ड, एष्ट्राजेनेका, भेरोसील, जोन्सन एण्ड जोन्सन खोप उपयोगमा आएका छन् । सरकारले खोप लगाउन योग्य सबै जनसंख्यालाई खोप उपलब्ध गराउन बजेट सुनिश्चित गरिसकेको छ । यस्तै ५७ लाख ६९ हजार तीन सय २८ नागरिकले खोपको पहिलो मात्रा लगाएका छन् ।
गृहमन्त्रीको सहयोगमा ४१ जनालाई प्रहरी बनाएको बताउने युवा पक्राउ गृह मन्त्री बालकृष्ण खाँणको सहयोगमा नेपाल प्रहरीमा ४१ जनालाई भर्ना गरिदिएको भन्दै फेसबुकमा स्टाटस लेख्ने नरेन्द्र गुरुङ प्रहरीको फन्दामा परेका छन्। प्युठानको ऐरावती गाउँपालिका १ का ३० बर्षीय गुरुङलाई प्युठान नगरपालिका ४ बाट पक्राउ गरिएको प्युठानका प्रहरी प्रमुख डीएसपी सुनिल मल्लले जानकारी दिए। “मेरो व्यक्तिगत पहलमा प्युठानी छोराहरूले नेपाल प्रहरीमा नाम निकाल्न सफल भएका छन्, भाइहरूलाई हार्दिक बधाई छ। नेपाली कांग्रेस प्युठानका उपसभापति बद्री लम्साल ज्युको पहलमा ११ जना, हिमाल शाक्य, राजन लगायत अन्य साथीहरुको सिफारिसमा गरी देशभरबाट ४१ जना नाम निकाल्न सफल भएको छु। सहयोगको लागि माननीय गृहमन्त्री बालकृष्ण खाँणज्युलाई धन्यवाद’, भन्दै नरेन्द्रले गत बिहीबार फेसबुकबाट नाम पनि सार्वजनिक गरेका थिए। प्रहरीलाई उनले नेपाल विद्यार्थी संघमा आवद्ध रहेको बताएका छन्।
फलाम उद्योगको भट्टी पड्किँदा घाइते पाँच जनाको उपचारकै क्रममा मृत्यु काठमाडौँ । वीरगन्जको सर्वोत्तम स्टिल उद्योगमा फलाम गलाउने भट्टी पड्किएर घाइते भएका १५ जना मध्ये ५ जना मजदुरको उपचारका क्रममा मृत्यु भएको छ । भदौ १० गते उद्योगमा फलाम गलाउने भट्टी पड्किदा भएको आगलागीमा घाइते भई भारतको पटनास्थित एपोलो अस्पतालमा उपचाररत ६ जना मध्ये ५ जना मजदुरको मृत्यु भएको हो । मृतक पाँचै जना भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मृत्यु हुनेमा भारतको बिहारका ५२ वर्षीय विनोद पाण्डे, २७ वर्षीय गगन नायक, उत्तर प्रदेशका ३२ वर्षीय धिरु सहनी, लखनऊका ३७ वर्षीय मानस परिदा र ३० वर्षीय रामकुमार यादवको रहेका छन्। उपचारकै क्रममा यही भदौ १६ गते तीन जना र भदौ १८ गते २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। अन्य घाइतेहरुको वीरगञ्जको अस्पतालमा उपचार भइरहेको बताइएको छ।भारत पटनाको एपोलो अस्पतालमा उपचारको क्रममा बिहारका ५२ वर्षीय विनोद पाण्डे , भारतकै उत्तर प्रदेशको खुशीनगरका ३२ वर्षीय धिरु सहनी, उत्तर प्रदेशकै लखनउका ३७ वर्षीय मानस परिदा ,बिहारका २७ वर्षीय गगन नायक बिहारी र लखनउकै ३० वर्षीय रामपुकार यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । उपचारका क्रममा ३ जनाको भदौ १६ गते र २ जनाको भदौ १८ गते मृत्यु भएको जानकारी बिहीबार मात्र पाएको पर्साका प्रहरी उपरिक्षक बेल बहादुर पाण्डेले बताए । गम्भीर घाइते भएका ६ जना कामदारलाई उद्योग व्यवस्थापनले भदौ १० मै एम्बुलेन्समा राखेर थप उपचारका लागि वीरगन्जबाट पटना लगेको थियो । भट्टी विस्फोट प्रकरण ढाकछोप गर्न सुरुदेखि नै लागेको उद्योग व्यवस्थापनले ५ जना मजदुरको मृत्युको जानकारी समेत एक सातापछि मात्र प्रहरी प्रशासनलाई दिएको छ ।
एमालेलाई जेठ २ मा फर्काउने प्रयास, विरोध र असन्तुष्टि कायमै ओखलढुंगा । नेकपा एमालेको केन्द्रीय सर्कुलरअनुसार जिल्ला कमिटी ओखलढुंगालाई २ जेठ मा फर्काउने प्रयास शुरु भएको छ । नेकपा गठन हुनुपूर्वको एमालेको जिल्ला कमिटीको बैठक राखेर त्यसको शुरुवात् गरेको केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज यज्ञराज सुनुवारले जानकारी दिए । केन्द्रको सर्कुलरअनुसार आयोजना गरिएको बैठकमा भने जिल्ला कमिटीका बहुमत सदस्यमात्र उपस्थित भएका थिए । सर्कुलर कार्यान्वयन र जिम्मेवारीका सन्दर्भमा असहमत नेताहरु भने बैठकमा उपस्थित भएनन् । यद्यपि बैठकले एमाले र माओवादी एकीकरण पूर्वको स्थानीय तह र जिल्लाको संरचना सक्रिय बनाउने निर्णय गरेको छ । एमालेको माधव समूहका सचिव र ओली समूहका समानान्तर कमिटीका सचिव बैठकमा सहभागी भएनन् । माधव समूहमा रहेका सचिव हर्कबोल राई र ओली समूहले बनाएका सचिव तीर्थ सुवेदी दुवै बैठकमा अनुपस्थित थिए । बाहिर स्वास्थ्यको कारण बताइए पनि खास कारण भने १० बुँदेमा उनीहरुको असहमति नै हो । राई संविधानसभा सदस्य तथा जिल्लामा स्थापित नेता हुन् । उनको अनुपस्थितिले एमाले जिल्ला नेतृत्वलाई झस्काएको छ । उनीजस्तै माधव समूहमा लागेका धेरैजसो जिल्ला कमिटी सदस्यहरु बैठकमा अनुपस्थित भए । ओली समूहको विधान विपरीतका काम र गतिविधिले वाक्क भएका नेता कार्यकर्ता धेरै निष्कृय भएका छन् । उनीहरुमध्ये कतिले एकीकृत समाजवादी रोजेका छन् भने कति तटस्थ बसेका छन् । एमाले जिल्ला सचिव शंकर कटवाल केही असन्तुष्टि भए पनि विस्तारै समायोजन भएर जाने बताउँछन् । एमाले विभाजनले जिल्लामा खास असर नपर्ने उनको तर्क छ । जिल्लामा एक मात्र जनप्रतिनिधि समाजवादीमा लागेको भन्दै प्रभाव शून्य रहेको उनको दावी छ । यद्यपि बैठकमा अनुपस्थित रहेका नेताहरु एमालेमा सक्रियतापूर्वक नलाग्ने हो भने एमालेको आधा संगठन भत्किने देखिएको छ । जिल्ला कमिटी बैठकले ८ स्थानीय तहमा पूर्ववत् कमिटीले काम गर्ने र २ जेठ कार्यान्वयनमा आउने समस्या समाधानका लागि जिल्ला अध्यक्ष मोहन श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय कमिटी निर्माण भएको छ । पार्टीले यस्तो निर्णय गरे पनि युवा तथा विद्यार्थी संगठनमा नेतृत्वबारे आ-आफ्नै दावीले विवाद बढ्दै गएको छ ।
आठ करोड बेरुजु फछ्र्यौट काठमाडौँ । वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले गत आर्थिक वर्ष २०७७/७८ मा रु आठ करोड तीन लाख ९८ हजार बेरुजु फछ्र्यौट गरेको छ । कार्यालयले ९३ प्रतिशत उपलब्धि हासिल गरेको छ । गत आवमा रु आठ करोड ६२ लाख ५१ हजार बेरुजु फछ्र्यौटको लक्ष्य तोकिएको थियो । यसैगरी मूल्य अभिवृद्धि बक्यौतातर्फ रु चार करोड ४६ लाख ५० हजार उठाउने लक्ष्य रहेकामा रु पाँच करोड एक लाख ३६ हजार बक्यौता उठाई ११२ प्रतिशत उपलब्धि हासिल गरेको कार्यालय प्रमुख शालिकराम आचार्यले जानकारी दिए। कार्यालयले आव २०७७/७८ मा रु पाँच अर्ब ९९ करोड ३८ लाख राजस्व सङ्कलन गरेको जनाएको छ । लक्ष्यभन्दा रु ६० करोड बढी राजस्व सङ्कलन भएको हो । कार्यालयका अनुसार राजस्व सङ्कलन आव २०७६/७७ को तुलनामा २५ प्रतिशतले बढेको, आव २०७७/७८ मा उक्त वर्षको लक्ष्य रु पाँच अर्ब ३९ करोड ९४ लाख रहेकामा रु पाँच अर्ब ९९ करोड ३८ लाख राजस्व सङ्कलन भएको छ । कार्यालयको करदाता सेवा शाखाका अनुसार उक्त आवमा थप चार हजार दुई सय ९१ व्यवसाय दर्ता भएकामा मूल्य अभिवृद्धिकरतर्फ चार सय ४२ नयाँ व्यवसाय दर्ता भएकोे छ । उक्त आवमा थप आठ हजार तीन सय ३३ व्यक्तिगत स्थायी लेखा नम्बर जारी भएको कार्यालयले जनाएको छ ।