content
stringlengths
31
27.4k
काठमाडौँ उपत्यकामा दुईको मृत्यु काठमाडौँ उपत्यकाको छुट्टाछुट्टै स्थानमा दुई व्यक्ति मृत फेला परेका छन् । काठमाडौँ दक्षिणकाली नगरपालिका–४ बाँसबारी बस्ने ४९ वर्षीय जमुना रोक्का मिजार आफ्नै कोठामा सुतिरहेको अवस्थामा आज मृत फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यस्तै ललितपुर, गोदावरी नगरपालिका–१० चापागाउँस्थित हेमबहादुर तामाङको घरको आँगनमा ललितपुर महानगरपालिका–२२ का ३५ वर्षीय गोविन्द तामाङ मृत अवस्थामा फेला परेका जनाइएको छ । उक्त घटनाका सम्बन्धमा प्र्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
नौ दिनपछि बेपत्ता शव भेटियो काठमाडौं ।नौ दिनपछि सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–९ का २३ वर्षीय लालु मण्डलको शव भेटिएको छ । मण्डललाई यही कात्तिक ३ गते जिता खोलामा आएको बाढीले बगाएको थियो । प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका मण्डलको शव सीमावर्ती भारतको सुपौल जिल्लाको कुनौली ग्रामपञ्चयात–१० स्थित जिता खोलाको बगरमा सडेको अवस्थामा फेला परेको हो । भारतीय प्रहरीसँगको समन्वयमा शव नेपाल ल्याइ मृतकका पिता शम्भु मण्डललाई बुझाइएको प्रहरीले जनाएको छ । भारतीय बजार कुनौलीबाट किनमेल गरी फर्किंदै गर्दा हनुमानगर–रम्पुरा मल्हनिया सडकखण्डको जीर्ण पुल पार गर्ने क्रममा मण्डललाई जिता खोलाको बाढीले बगाएको हो ।
मोटरसाइकल एकापसमा ठक्कर खाँदा मृत्यु झापा । झापाको गौरादहमा तीव्रगतिका दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा शुक्रबार बिहान एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन्। इलाका प्रहरी कार्यालय गौरादहका अनुसार बिहान ८ बजेतिर गौरादह नगरपालिका–४ स्थित स्कुलचौन–चाप्रामारी धरधरे सडकखण्डमा दुई मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा मे९प २७०३ का मोटरसाइकल चालक गौरादह–५ का अन्दाजी ४० वर्षीय भानु भनिने वेणु अधिकारीको घटनास्थलमै मृत्यु भएको हो। अधिकारीले चलाएको मोटरसाइकल र मे६प ५४१६ नंको मोटरसाइकल एकापसमा ठोक्किएको प्रहरीको भनाइ छ। सो दुर्घटनामा परेर ५४१६ नंको मोटरसाइकलका चालक गौरादह–५ चप्रामारीका ३० वर्षीय अनुप राजवंशी र पछाडि सवार १६ वर्षीय ललित शर्मा घाइते भएका छन्। उनीहरु दुवै जनाको उपचारका लागि न्यूरो अस्पताल विराटनगर पठाइएको प्रहरीले जनाएको छ।रासस
हस्तकला व्यापार मेला हायात रिजेन्सी होटेलमा सुरु हुँदै काठमाडौँ ।यही मंसिर ३ गतेदेखि नेपाल हस्तकला महासंघको १८औं हस्तकला व्यापार मेला सुरु हुने भएको छ । यसवर्ष काठमाडौं हायात रिजेन्सी होटेलमा आयोजना गरिने हस्तकला महासंघले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । कोरोना महामारीका कारण शिथिल बनेको नेपाली हस्तकलाको आन्तरिक तथा बाह्यै बजारलाई पुनः चलायमान बनाउन यो मेलाले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा महासंघले गरेको छ । उक्त मेलालाई नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र, विभिन्न संघसंस्थाहरूको पनि सहयोग रहेको छ । उक्त मेलामा हस्तकलालगायत विभिन्न वस्तुहरूको करिब १२० वटा स्टल रहने छ । मेलाको प्रमुख आकर्षणको रूपमा कला प्रतियोगिताअन्तर्गत नेच्यूरल फाइबर (प्राकृतिक रेसा) र फिलगिरी गरी दुई वटा विधामा प्रतियोगिता हुने पत्रकार सम्मेलनमा जानकारी दियो । नेपाली हस्तकला लगायतका अन्य उत्पादित सामानहरूको स्वदेशी तथा अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन गर्नु मेलाको मुख्य उद्देश्य रहेको महासंघले जनाएको छ । हस्तकलाका सामाग्रीहरूको प्रचार प्रसार तथा उजागर गरी निर्यात व्यापार प्रवर्द्धन, नेपाली उद्यमी व्यवसायी र विदेशी हस्तकला आयातकर्ता बीचमा व्यावसायिक सम्बन्ध विकास गर्नु आजको आवश्यकता रहेको महासंघको बुझाइछ ।
प्रधानसेनापति शर्मा भारत भ्रमणमा जाने काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा भारत भ्रमणमा जाने भएका छन् । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवानेको निमन्त्रणमा सेनापति शर्मा २३ कात्तिकमा भारत भ्रमणमा जाँदैछन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानसेनापति शर्माको नेृतत्वमा भारत भ्रमण दल टोलीलाई स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । उनकाअनुसार बैठकले नेपाली सेनाका उपरथी सरोज प्रताप राणालाई रथी पदमा बढुवा गर्ने निर्णय पनि गरेको छ ।
बलात्कृत १४ वर्षीया बालिकाको स्वास्थ्यवस्था गम्भीर सुर्खेत ।रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–१४ को बाँकेज्युलामा एक बालिका बलात्कृत भएकी छन् । जाजरकोटको नलगाड नगरपालिका १ की अन्दाजी १४ वर्षीया बालिकालाई बाँकेज्युलाका २६ वर्षीय झलक जैसीले बलात्कार गरेको र उनी फरार रहेको प्रहरीले जनाएको छ । बलात्कृत बालिकाको अवस्था गम्भीर भएकाले उपचारका नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ । बुधबार घरबाट मेला हेर्न बाँकेज्युलामा आएकी बालिका बुधबार राति ८ बजेतिर अचेत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्मा रेग्मीले बताए । बालिका अचेत अवस्थामा फेला परेको र अत्यधिक रक्तस्राव भइरहेको प्रहरी निरीक्षक शर्माले बताए । नगर अस्पतालमा उपचार सम्भव नभएपछि बालिकालाई थप उपचारका लागि नेपालगञ्ज लगिएको छ ।बालिकाको अवस्था हेर्दा र प्रारम्भिक अनुसन्धानबाट बलात्कार भएको देखिएको प्रहरी निरीक्षक शर्माको बताए । पीडित बालिकाका बुवाले इलाका प्रहरी कार्यालय राडीमा ठाडो उजुरी दिएका छन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
पूर्व न्यायाधीश लम्सालको निधनप्रति सर्वोच्चद्वारा दुःख व्यक्त काठमाडौं।पूर्व न्यायाधीश भैरवप्रसाद लम्सालको (बिहीबार) बिहान असामयिक निधन भएकामा छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा तथा सम्पूर्ण न्यायाधीशहरुको आज बसेको आकस्मिक पूर्ण बैठकले पूर्व न्यायाधीश लम्सालको निधनबाट न्याय र कानूनको क्षेत्रमा अपूरणीय क्षति पुगेको उल्लेख गर्दै स्व लम्सालप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेको छ । साथै, शोक सन्तप्त परिवारजनमा समवेदना समेत प्रकट गरेको छ । उनी स्वास्थ्य समस्याका कारण केही दिनदेखि मेडिकेयर अस्पतालमा उपचाररत थिए । अदालतमा सेवारत् रहँदा लम्सालको स्वतन्त्र न्यायपालिकाको मूल्य मान्यतालाई स्थापित गर्न र न्याय तथा कानूनको क्षेत्रको विकासका लागि अतुलनीय योगदान रहेको र उनको योगदान भावी पुस्ताका लागि सदैव प्रेरणादी र मार्गदर्शक रहिरहने सर्वोच्च अदालतले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
नग्न अवस्थामा समुद्रमा तैरिरहेकी महिलाको उद्धार, १२ घण्टा बगिरहँदा पनि जीवितै थिइन् समुद्रको यात्रामा निस्किएका एक अमेरिकी नाविक त्यतिबेला आश्चर्यमा परे जब उनले पानीमा केही असामान्य चीज देखे । उनी आफ्नो नाउ लिएर नजिकै गएपछि त्यो चीज कुनै मानिसको हात थियो । जब नाविकले त्यसलाई बाहिर निकाले उनी चकित परे । खासमा समुद्रको चिसो पानीमा एक महिला तैरिरहेकी थिइन् । महिनाको शरीरमा एउटा पनि कपडा थिएन । डेलीमेलको रिपोर्टअनुसार २६ अक्टोबरका दिन ६० वर्षका खोस्रो कोज खोसरवानी आफ्ना साथीहरुसँग समुद्रको यात्रामा निस्किएका थिए । बाटोमा उनले डल्फिनको झुण्ड देखे । त्यसपछि उनले नजिकै गएर हेर्ने कोसिस गरे । यद्यपि योभन्दा पहिल्यै उनले केही असामान्य चीज देखे । नजिक जाँदा खोसरवानीले पानीमा तैरिइरहेको मानिसको हात देखे । तर, जब त्यो हातलाई बाहिर ताने उनको होस उड्यो किनकि त्यो हात एक महिलाको थियो । महिला पानीमा पूर्ण नग्न अवस्थामा थिइन् । सौभाग्यवश महिला जीवितै थिइन् । खोसरवानी र उनका साथीहरुले तत्कालै चिसोले कड्याङ्ग्रिएकी महिलालाई कम्बलमा बेरे । महिलाको स्थिति निकै खरबा थियो । उनका ओठ काँपिरहेका थिए । उनी निकै मुस्किलले बोल्न सकिरहेकी थिइन् । उनलाई जीवित बचाउन भने सकिएको छ । सोधपुछपछि थाहा भयो कि ती महिला करिब १२ घण्टादेखि समुद्रको चिसो पानीमा तैरिरहेकी थिइन् । कथित रुपमा उनी पनि यात्रामा निस्किएकी थिइन् तर पानीमा डुबिन् । खासमा महिला एक्लै पौडी खेल्न गएकी थिइन् तर समुद्रको छालले उनलाई किनारबाट साढे २ माइल टाढा बीच समुद्रमा हुत्याइदियो । जतिबेला उनलाई उद्धार गरियो, उनको शरीरमा एउटा पनि कपडा थिएन । उनलाई रोनाल्ड रेगन अस्पतालमा भर्ना गरियो जहाँबाट तीन दिनपछि उनलाई डिस्चार्ज गरियो ।
विश्वकपमा ‘कमजोर’ नामिबियाको घातक ओभर, ब्याट्सम्यान आउँथे, आउट हुन्थे, फर्किन्थे काठमाडौं। विश्वकपमा बुधबार खेलिएको नामिबिया र स्कटल्याण्डबीचको खेलमा नामिबियाका तीब्र गतिका बलर रुबेन ट्रम्पलम्यानले घातक बलिङ गर्दै वहिलो ओभरमै तीन विकेट लिएयसअघि श्रीलंकाका एन्जेलो म्याथ्युजले २००९ को टि–२० विश्वकपमा वेष्ट इण्डिजविरुद्ध यसैगरी पहिलो ओभरमै ३ विकेट लिएका थिए । आइसीसीले ट्रम्पलम्यानको यो बलिङको भिडियो शेयर गरेको छ । आइसीसीले यो ओभरलाई टि–२० विश्वकपको कुनै पनि खेलको सबैभन्दा सनसनीखेज ओभर भनेको छ । नामिबियाले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । ट्रम्पलम्यान पहिलो ओभर बलिङ गर्न आए । उनले जर्ज मुन्से (०) लाई पहिलो बलमै आउट गरे । त्यसपछि तेस्रो बलमा क्यालम म्याकल्योडलाई पनि शुन्यमा आउट गरे । उनले लगत्तै अर्को बलमा पनि रिची बेरिंगटनलाई एलबीडब्लु आउट गरे । रिचीले पनि खाता खोल्न सकेनन् । यो ओभरमा ट्रम्पलम्यानले केवल २ रन दिए । त्यो २ रन पनि ब्याटरले बनाएको नभइ वाइड थियो । सुरुवातमै यस्तो झट्का लागेपछि पूरै खेलमा स्कटल्याण्ड उड्न सकेन । उसले २० ओभरमा १०९ रन मात्र बनाउन सक्यो । जवाफमा नामिबियाले १९.१ ओभरमा ६ विकेट गुमाएर लक्ष्य हासिल गर्यो । जेजे स्मिटले छक्का हानेर टिमलाई जीत दिलाए । रुबेन ट्रम्पलम्यान म्यान अफ द म्याच घोषित भए ।
बारले माग्यो सेवाग्राहीसँग माफी काठमाडौँ ।नेपाल बार एशोसिएशनले न्यायलयमा देखिएको विवादका कारण सुनुवाइ प्रभावित भएकोप्रति सेवाग्राहीसँग क्षमा मागेको छ । बारका महासचिव लीलामणि पौडेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा अनपेक्षित तर अनिवार्य परिस्थिति सृजना भएकाले न्यायका उपभोक्तामा पर्न जाने असुविधाप्रति क्षमा मागेको हो ।“यस पुनित कार्यमा सहयोग पु¥याउन सम्बन्धित सबैमा हार्दिक अनुरोध गरिन्छ, न्यायपालिकाको समग्र सुधारका अभियान सुरु गर्दा केही दिन पेसी सुनुवाइ स्थगित हुन सक्ने अवस्था देखिएको छ”, विज्ञप्तिमा भनिएको छ, “अनपेक्षित तर अनिवार्य परिस्थिति सृजना भएकोले न्यायका उपभोक्ता तथा समस्त सेवाग्राहीमा पर्न जाने असुविधाका लागि क्षमाप्रार्थी छौँ, केही दिन धैर्यधारण गरी न्यायिक सुधारका कार्यमा सहयोग पु¥याउन पुनः हार्दिक अनुरोध गर्दछौँ ।” बारले न्यायपालिका सुधारका कार्यक्रम लागू गराउने काममा न्याय तथा कानूनी क्षेत्रका व्यक्ति र सेवाग्राहीलगायत आम नागरिकको पनि सहयोग अपेक्षित रहेको जनाएको छ ।न्यायपालिकामा विगत केही वर्षदेखि विकृति, विसङ्गति बढ्दै गएको, सबैलाई समान, सहज र निष्पक्ष न्याय प्राप्त नभएको विषय गम्भीर चासो र सरोकारको विषयलाई सम्बोधन गरी सुधारका गर्नुपर्ने जरुरी रहेको विज्ञप्तिमा छ । प्रधानन्यायाधीशमाथि मन्त्रिमण्डल विस्तारमा भाग खोजेको भन्ने आरोपका कारण न्यायलयमा प्रश्न उठेको र उक्त प्रश्नको जवाफको माग गर्दै न्यायाधीशहरुले सुनुवाइ गर्न इन्कार गरेका छन्। आज प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासमा मात्र सुनुवाइ भयो । अरु न्यायाधीशको इजलास तोकिएता पनि सुनुवाइ हुन सकेन । प्रधानन्यायाधीश राणाले आफूलाई संविधान र कानूनले प्रधानन्यायाधीशको रूपमा जिम्मेवारी दिएको र त्यो पूरा गर्न आफू सक्षम रहेको बताउँदै न्यायाधीशहरुलाई संविधान र कानूनबमोजिम आ–आफ्नो जिम्मेवारी पूरा गर्न आग्रहसमेत गरेका छन् ।
गरिब तथा न्यून आय भएकोलाई नयाँ विद्युत् महसुल दर निर्धारण काठमाडौं ।गरिब तथा न्यून आय भएका वर्गलाई लक्षित गरी विद्युत् नियमन आयोगले महसुल दर निर्धारण गरेको छ । विपन्न नागरिकलाई लक्षित गरी पाँच एम्पियरबाट मासिक २० युनिटसम्म खपत गर्ने गार्हस्थ्य वर्गका उपभोक्ताको हकमा ‘इनर्जी’ शुल्क नलाग्ने र न्यूनतम शुल्क रु ३० मात्र लाग्ने गरी महसुल निर्धारण गरिएको आयोगका प्रमुख आयुक्त डिल्लीबहादुर सिंहले जानकारी दिए । उनले भने, “गार्हस्थ्यस्तरमा विद्युत् उपभोग बढाउन तथा उपभोक्तामाझ विद्युत्को उचित मूल्य सुनिश्चित गर्न गार्हस्थ्य वर्गको महसुलमा औसतमा २.८४ प्रतिशतले घटाईएको छ ।” विस्तृत अध्ययन, छलफल, विश्लेषण, सार्वजनिक सुनुवाइ, सरोकारवालाको राय, सुझाव तथा प्रतिक्रियाका आधारमा महसुल निर्धारण गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । मुलुकमा हाल विद्युत् ग्राहक सङ्ख्या ४९ लाख ८९ हजार ४९४ रहेकामा २० युनिटभन्दा कम खपत गर्ने न्यून आय भएका ग्राहकको सङ्ख्या १९ लाख ८६ हजार ५०७ छ । आयोगका अनुसार सिङ्गल फेजबाट मासिक १५१ देखि २५० युनिटसम्म खपत गर्ने पाँच एम्पियर, १५ एम्पियर र ३० एम्पियरका गार्हस्थ्य उपभोक्ताको मासिक न्यूनतम शुल्कको हकमा साविकको महसुल दरमा रु २५ ले कटौती गरी क्रमशः रु १००, रु १२५ र रु १५० कायम गरिएको छ । सिङ्गल फेजबाट मासिक ४०० युनिटभन्दा बढी विद्युत् खपत गर्ने पाँच एम्पिएर, १५ एम्पियर, ३० एम्पियर र ६० एम्पिएरका गार्हस्थ्य उपभोक्ताको मासिक न्यूनतम शुल्कको हकमा साविकको महसुल दरमा रु २५ ले कटौती गरी क्रमशः रु १५०, रु १७५, रु २०० र रु २५० कायम गरिएको जानकारी दिइयो । यसैगरी सिङ्गल फेजबाट आपूर्ति लिई मासिक १५१ देखि २५० युनिटसम्म खपत गर्ने गार्हस्थ्य वर्गका उपभोक्ताको इनर्जी शुल्कको हकमा साविकको दरमा प्रतियुनिट ५० पैसा घटार्ई प्रतियुनिट रु ९.५० कायम गरिएको छ ।
माटोको ढिस्कोमा पुरिएर बालिकाको मृत्यु लहान । ढिस्कोमा पुरिएर एक बालिकाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् । सिरहाको धनगढीमाई नगरपालिकामा ५ जयपुर निवासी प्रकाश कामैतको ११ वर्षीया छोरी करिश्मा कुमारीको डिस्कोले पुरिएर आज दिउँसो मृत्यु भएको हो । दीपावलीमा घर लिपपोत गर्न आमासँग माटो लिन गएकी करिश्माको डिस्कोले पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ । घर लिपपोत गर्न गाउँदेखि करिब २०० मिटर दूरीमा रहेको खाल्डोबाट माटो झिक्ने क्रममा ढिस्को खसेर पुरिएको र निकाल्ने प्रयास गरे पनि करिश्मालाई जीवितै उद्धार गर्न नसकिएको स्थानीयवासी सन्तोष साहले जानकारी दिए । ढिस्कोमा परेर करिश्माकी आमा ममतादेवी कामैत, स्थानीयवासी महिन्द्र महतोको ७ वर्षीय छोरी सरिता महतो, राजकुमार यादवकी ७ वर्षीया छोरी सविता यादव, २६ वर्षीया सीतादेवी कामैत र इन्द्रदेव कामैतकी १० वर्षीया छोरी रुवि कामत घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुुबास ढकालले जानकारी दिए।
एक जना मृत फेला, दुई बेपत्ता काठमाडौं । बैतडीको पाटन–६ पैर्यौडाका ३८ वर्षीय दमनराम पहरी आज मृत फेला परेका छन् । पहरी स्थानीय गोइडा खोलामा मृत फेला परेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख एवम् प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । बजार जान्छु भनी सोमबार घर निस्केको र साँझ घर नफर्केपछि पहरीको शव मंगलबार बिहान गोइडा खोलामा डुबेको अवस्थामा फेला परेको हो । बाख्रा चराउन गएका गोठालाले शवलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए । पहरीको टाउको र शरीरमा चोट लागेकाले लडेर मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । मृतक पहरीको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ ।यसैबीच नदीमा बगेर बेपत्ता भएका बैतडीका दुई जनाको अवस्था अज्ञात रहेको छ । जिल्लाको डिलाशैनी गाउँपालिका–५ का २९ वर्षीय गोपाल ओडको अवस्था अज्ञात रहेको हो । गोपाल कात्तिक १ गते माछा मार्ने क्रममा चौलानी नदीमा बेपत्ता भएका थिए । बेपत्ता ओडको खोजी कार्य जारी रहेको भए पनि अवस्था अज्ञात रहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले बताए ।जमाडी खोलामा बच्चासहित हाम फालेकी डिलाशैनी–४ मठैराजका गोविन्द विष्टकी श्रीमती २८ वर्षीय जयन्ती विष्ट पनि अझै भेट्टिएकी छैनन् । यही कात्तिक २ गते पाँच वर्षीय छोरा सुभमसहित जयन्तीले जमाडी खोलामा हाम फालेकी हुन् । सुभमको शव भने दोगडाकेदार गाउँपालिका–६ चम्तडी नजिक चौलानी नदी किनारमा भेटिएको छ । जयन्तीको अवस्था भने अज्ञात रहेको छ । जयन्तीका श्रीमान् घरमै रहेका छन् । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
वडाध्यक्षसहित दुई पुर्पक्षका कारागार काठमाडौं । प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित पक्राउ परेका पर्साको पकाहमैनपुर गाउँपालिका–१ का वडाध्यक्ष अमेरिका सहनीसहित दुई जनालार्ई पुर्पक्षका लागि वीरगञ्ज कारागार चलान गरिएको छ । पर्सा जिल्ला अदालतको आदेशानुसार वडाध्यक्ष सहनीसहित सोही मुद्दामा पकहामैनपुर गाउँपालिकाकै रामआदेश सहनी पनि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं डिएसपी ओमप्रकाश खनालले जानकारी दिए । सोही मुद्दामै पक्राउ परेका वडासदस्य बलिष्टर सहनीलाई भने जिल्ला अदालतले रु एक लाख धरौटीमा छाड्ने आदेश दिएको हो । अदालतको आदेश पछि वडाध्यक्ष अमेरिका र रामआदेशलाई पुर्पक्षका लागि वीरगञ्ज कारागार चलान गरिएको प्रवक्ता खनालले बताए । गत साउन ३ गते ना१ब ३५९५ नम्बरको सरकारी मोटरसाइकलबाट ब्राउनसुगरसहित वडाध्यक्ष सहनी, वडासदस्य बलिष्टर सहनी र रामआदेश सहनीलाई प्रहरीले पक्राउ गरेको थियो । गत साउन ३ गत राति १०ः३० बजेको समयमा तीनैजनालाई वीरगञ्ज महानगरपालिका–१९ बाट इलाका प्रहरी कार्यालय पोखरियाको टोलीले लागुऔषधसहित नियन्त्रणमा लिएको थियो । चेकजाँचको क्रममा प्रहरीले वडाध्यक्ष सहनीले चलाएको ना१ब ३५९५ नम्बरको मोटरसाइकलबाट ७९ ग्राम खैरो हिरोइन बरामद गरेको थियो । यसैगरी उनको पछाडि ना६२प १९४२ नम्बरको अर्को मोटरसाइकलमा आउँदै गरेका वडासदस्य बलिष्टर र पछाडि बसेका रामआदेशलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो ।
गोकर्णेश्वर नगरपालिकामा दुईको मृत्यु काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाको छुट्टाछुट्टै स्थानमा भएको घटनामा दुई जनाको मृत्यु भएको छ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलमा एक महिलाको आज सुतेकै अवस्थामा मृत्यु भएको छ । सोही ठाउँमा डेरा गरी बस्ने सङ्खुवासभा मकालु गाउँपालिका–१ घर भएकी ३५ वर्षीया सञ्जु तामाङ सुतेको ठाउँमा मृत फेला परेको प्रहरीले जनाएको छ । घटनाको अनुुसन्धान भइरहेको जनाइएको छ । उक्त नगरपालिका–५ जोरपाटीस्थित सडकमा बा६३प ६२०४ नम्बरको स्कुटरलाई बा२ख १३८ नम्बरको ट्याङ्करले आज ठक्कर दिँदा स्कुटर चालक सोही नगरपालिका–४ माकलबारीका ४४ वर्षीय गङ्गाराज राईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको ओम अस्पताल चाबहिलमा उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दुर्घटनामा घाइते भएकी स्कुटरमा सवार उनकी छोरी १९ वर्षीया सुष्मा राईको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्याङकर चालकलाई नियन्त्रणमा लिई घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
संविधान र कानूनले दिएको जिम्मेवारी पूरा गरेर मात्र म बाहिरिन्छुः प्रधानन्यायाधीश काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले संविधान र कानूनले दिएको दायित्व पूरा गरेर मात्र आफू सेवाबाट बाहिरिने बताएका छन् । प्रधानन्यायाधीश र न्यायाधीशहरुको बीचमा आज भएको भेटमा उनले आफूलाई संविधान र कानूनले प्रधानन्यायाधीशका रूपमा जिम्मेवारी दिएको र त्यो पूरा गर्न आफू सक्षम रहेको बताएका हुन्। प्रधानन्यायाधीश र न्यायाधीशहरुबीचको छलफलपछि सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले प्रधानन्यायाधीशले भनेको कुरालाई उद्धृत गर्दै भने, “संविधान र कानूनबमोजिम नियुक्त भएको प्रधानन्यायाधीशले संवैधानिक दायित्व गर्नुपर्छ, म त्यो पूरा गर्न सक्षम छु, संविधान र कानून दिएको जिम्मेवारी पूरा गरेर म बाहिरिन्छु ।” प्रधानन्यायाधीश जबराले आफूले सेवाबाट बाहिरिनुपर्ने हो भने प्रश्न उठाइएका अरु न्यायाधीशले पनि राजीनामा दिनुपर्ने अनि आफूले राजीनामा दिने समेत छलफलमा भने। प्रवक्ता दाहालले प्रधानन्यायाधीशले भनेको कुरा उद्धृत गर्दै भने, “तपाइँहरुले भने जसरी म बाहिरिनु राजी छैन, यदि सेवाबाट मैले राजीनामा दिनुपर्ने हो भने जुन–जुन श्रीमान्का विषयमा प्रश्न उठेको छ उहाँहरुले पनि राजीनामा दिए म पनि राजीनामा दिन तयार छु ।” प्रधानन्यायाधीश राणाले न्यायाधीशहरुलाई संविधान र कानूनबमोजिम आ–आफ्नो जिम्मेवारी पूरा गर्न आग्रहसमेत गरेका छन् । सर्वोच्च अदालतमा हिजो र आज पेशी तोकिए पनि बेन्च बस्न नसक्दा मुद्दाको सुनुवाइ हुन सकेको छैन । जसले गर्दा पालोमा टाढाटाढाबाट आएका सेवाग्राही मर्कामा परेका छन् ।
प्रधानन्यायाधीश जिम्मेवार बन्न ट्रेड युनियनको अपील काठमाडौँ । अदालतभित्र देखिएका विकृतिको अन्त्य गर्ने सम्बन्धमा जिम्मेवार बन्न प्रधानन्यायाधीश र न्यायाधीशहरुलाई सर्वोच्च अदालतको आधिकारिक ट्रेड युनियनले आग्रह गरेको छ । विज्ञप्तिमा भनिएको छ ‘‘अशोभनीय गतिविधिले न्यायालय थप संकटतर्फ जाने भएको हुँदा अदालतभित्र देखिएका विकृति विसंगतिको अन्त्य गर्ने सम्बन्धमा प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशहरु जिम्मेवार भई गम्भीरतापूर्वक अबिलम्ब समूचित समाधान गर्न जोडदार माग गर्दछौं’ । साथै न्यायालयमा देखिएको समस्याको सही समाधानका लागि सम्पूर्ण न्यायकर्मी, कानून व्यवसायी, न्यायका उपभोक्ता, पत्रकार, नागरिक समाज तथा सरोकारवाला जनसमुदायलाई आ–आफ्नो ठाउँबाट सकारात्मक भूमिका निर्वाह गर्न समेत अपील गरेको छ ।
श्वासप्रश्वासको समस्याः विमानस्थलबाटै फर्काइयो बिरामीलाई खलङ्गा । गुठीचौर गाउँपालिकाका रिमाल पाण्डे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले रेफर गरेको कागज देखाउँदै विमानस्थल पुगे। तीन महिनाको छोरालाई एक्कासि श्वासप्रश्वासको समस्या भएपछि अस्पतालमा उपचारत थिए । अस्पतालले नर्मल श्वासप्रश्वासको दर ५० देखि ६० हुनुपर्ने भए पनि घटेर ३६ मा पुगेपछि थप उपचारका लागि शनिबार नै रेफर गरेको थियो । निकै गम्भीर प्रकृतिको बिरामी छोरा लिएर उनी विमानस्थल पुगेका थिए। हवाई टिकटका लागि एयरलाइन्सका कर्मचारीदेखि एजेन्सी सबैलाई हारगुहार गरे तर उनले टिकट पाएनन् । एयरलाइन्सका कर्मचारी र एजेन्सीका मान्छेले तीन दिनअघि देखि सिट प्याक भइसकेको जनाउँदै उनलाई फर्काइदिएका थिए । बिरामीले जहाजमा उड्न नपाउनु विडम्बना हो । उनले भने, “हामी अफ्ठयारो गाह्रो पर्दा हारगुहार माग्छौँ । टिकट पाउँदैनौँ । हवाई सेवा पहुँचवालाको मात्र होइन ।” दुई दिनअघि जुम्ला विमानस्थलमा भएको सर्वपक्षीय बैठकले बिरामीलाई पहिलो प्राथमिकतामा राखेर टिकट व्यवस्थापन गर्नुपर्नेमा जोड दिएको थियो । कुनै पनि बिरामी जहाजमा जान पाउनुपर्ने जनाउँदै बिरामीको विकल्प अरू हुन नसक्ने बैठकको निष्कर्ष थियो । नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले बिरामीले टिकट नपाउनु सुखद पक्ष नभएको बताए ।
एमालेबाट निर्वाचित वडाध्यक्ष लागूऔषधसहित पक्राउ सिरहा । सिरहा नगरपालिका-१८ का वडाध्यक्ष रामसोगारथ यादव लागूऔषधसहित पक्राउ परेका छन्। सरकारी नम्बर प्लेट स१ ब९३८ नम्बरको मोटरसाइकलमा सवार यादव १५ वटा नाइट्रोभेट ट्याब्लेटसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यलय सिरहाका प्रवक्ता सुवास बुढाथोकीले जानकारी दिए। उनी भारतबाट फर्कँदै गर्दा प्रहरीले माडर चोकबाट पक्राउ गरेको हो। यादवमाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। यादव नेकपा एमालेबाट निर्वाचित भएका थिए।
मिनी ट्रकको ठक्करमा एकको मृत्यु काठमाडौं ।मिनी ट्रकको ठक्करबाट भक्तपुरमा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । भक्तपुर नगरपालिका–१ यति कार्पेट नजिक व्यासीबाट सल्लाघारीतर्फ जाँदै गरेको प्रदेश नं ३–०२–०१७ प ७९४२ नं को मोटरसाइकल चोङ्गा गणेश मोटर पार्ट्स ग्यारेजबाट मुख्य सडकमा निस्किदै गरेको प्र.नं ३–०१–००३ क. ५०६५ नंको मिनी ट्रकसँग आज ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल पछाडि सवार २० वर्षीय सुरज तामाङको मृत्यु भएको छ । घाइते तामाङको भक्तपुर अस्पतालमा उपचार हुन नसकेपछि अन्नपूर्ण न्युरोमा उपचारका क्रममा मृत्यु भएको परिसरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । मोटरसाइकल चालक मोटरसाइकल चालक चाँगुनारायण नपा–५ छालिङ १९ वर्षीय महेश्वर खड्कालाई सामान्य चोटपटक लागेकाले उपचारपश्चात् डिस्चार्ज भएको छ । मिनी ट्रक चालक भक्तपुर नपा–१० कमलविनायक महालक्ष्मी बस्ने ३३ वर्षीय लक्ष्मीप्रसाद दुवाल र दुर्घटनामा परेको दुईवटै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिई महानगरीय प्रहरी परिसर, भक्तपुरमा राखेर अनुसन्धान सुरु गरिएको प्रनाउ गिरीले जानकारी दिए ।
हत्या गरी आँगनमै पुर्ने दुई पक्राउ काठमाडौं। सिन्धुपाल्चोकमा एक पुरूषको हत्या गरी उनैको घरको आँगनमा गाडेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। मेलम्ची नगरपालिका–१० सिम्लेफाँटका नेत्रप्रसाद दाहालको हत्या गरी फरार रहेको आरोपमा  काभ्रे खानीखोला–८ का कृष्ण मगर र सिन्धुपाल्चोक लिसङ्खुपाखर–७ का छिरिङ तामाङ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए । गत असोज १९ गते साँझदेखि हराएका दाहालको भोलिपल्ट घरकै आँगनमा बालुवामा पुरिएको अवस्थामा शव फेला परेको थियो । घरअगाडि आँगनमा मानिसको दुवै खुट्टाको औँला मात्र देखिने गरी खाल्डो खनी बालुवाले पुरेको अवस्थामा ६३ वर्षीय दाहालको शव फेला परेको थियो । घरअगाडि शव फेला परेपछि प्रहरीले केनाइन महाशाखा, काठमाडौँमा समन्वय गरी विशेषज्ञसहित कुकुरको टोली झिकाई अनुसन्धान सुरु गरेको थियो । घटनास्थल वरपर रहेका छरछिमेकका मानिसहरुले तीन दिन अघिदेखि मृतकको घरमा दुईजना अपरिचित पुरुष आउनेजाने गर्ने गरेको भन्ने सूचनाका आधारमा थप अनुसन्धान गर्दै जाँदा उनीहरु पक्राउ परेको प्रनाउ बस्नेतले बताए । मृतक दाहालले प्रयोग गर्ने मोबाइल मृतकका साथमा फेला नपरेको तर मोबाइल भने चालु नै रहेकाले सोही मोबाइलको लोकेसनका आधारमा काभ्रेका मगर पक्राउ परेका थिए । मगरलाई सोही दिन साँझ ७ बजे नै मेलम्चीस्थित हेलम्बु बसपार्कबाट पक्राउ गरिएको उनले बताए । मगर पक्राउ परेपछि उनकै बयानका आधारमा सिन्धुपाल्चोकका तामाङलाई काठमाडौँको गोकर्णेश्वर नगरपालिका–८ नारायणटारबाट असोज २८ गते पक्राउ गरिएको हो । मृतक दाहाल र आरोपीहरुबीच दाहालको घर बनाउन ठेक्का लिने सहमति भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । आरोपीहरुले असोज १९ गते राति नै दाहालको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
बेपत्ता आयोगले जारी गरेको ‘द्वन्द्वपीडित’ परिचय पत्र देखाएर सिंहदरबार प्रवेश पाइने काठमाडौं ।द्वन्द्वपीडित भनेर जारी गरेको परिचयपत्र देखाएर सिंहदरबार प्रवेश गर्न पाइने भएको छ । गृह मन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाँण र आयोगका पदाधिकारीबीच आज भएको छलफलमा आयोगले जारी गरेको परिचयपत्र वाहकलाई सिंहदरबारमा प्रवेश दिने सहमति भएको हो । आयोगका अध्यक्ष युवराज सुवेदी, सदस्य विश्वप्रकाश भण्डारी, डा गङ्गाधर अधिकारी, सुनिल रञ्जन सिंह र सरिता थापा तथा सचिव श्यामकुमार भट्टराई अहिलेसम्म गरेका काम र अब गृह मन्त्रालयसँगको समन्वय गर्ने कामबारे मन्त्री खाँणसँग छलफल गरेका थिए । गृह मन्त्रालयका तर्फबाट मन्त्री खाँण, सचिव टेकनारायण पाण्डे र मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेल सहभागी थिए । आयोगका पदाधिकारीले तत्कालका लागि आयोगले परिचयपत्र प्रदान गरेका द्वन्द्वपीडितलाई त्यही परिचयपत्र देखाएर सिंहदरबार छिर्ने व्यवस्था गरिदिन आग्रह गरेका थिए ।
जडीबुटी सङ्कलन गर्न हुम्ला पुगेका मुगुका युवकको मृत्यु सिमकोट । जडीबुटी सङ्कलन गर्न आएका मुगु घर भएका एक युवकको मृत्यु भएको छ । चङ्खेली–३ को मिमीमा रहेको वन क्षेत्रमा जडीबुटी सङ्कलन गर्न गएका मुगु कार्मारोङ गाउँपालिका–४ स्थित कार्तिक गाउँका ३३ वर्षीय छिरिङ लामा कटुकी सङ्कलन गरी घर फर्किने क्रममा हिउँ पहिरामा परी मृत्यु भएको हो । मृतका दाजु ३७ वर्षीय कार्मा सुण्डा लामाको दाहिने हात भाँचिएर घाइते भएको जानकारी प्राप्त भएको छ । दाजु कार्मा सुण्डासहित सातजना दुई दिन लगाएर चङ्खेली–३ मिमी गाउँ हुँदै मुगु फर्किएका छन् । जिल्ला प्रहरी कार्यालय मुगुले जिल्ला प्रहरी कार्यालय हुम्लालाई जानकारी गराएको प्रहरी कार्यालय हुम्लाले जनाएको छ । जडीबुटी सङ्कलन गर्न गएका छोइटिन लामा, आङजिङ लामा, तोचे लामा, छोइटाङ लामा, सङ्गीता लामा र कार्मा सुण्डा लामा भने घर फर्किएका छन् । चङ्खेली–३ को मिमी गाउँदेखि दुई दिन टाढा रहेकाले कुन ठाउँमा हो यकिन गरी मात्रै खोजी हुने प्रहरी नायब उपरीक्षक हेरम्भ शर्माको भनाइ छ । जडीबुटी सङ्कलनमा हिउँ पहिरामा परी मृत्यु भएको छिरिङको शव जङ्गलमै रहेको उनका दाजु कार्माले घर पुगेर रिपोर्ट गरेपछि जानकारी भएको उपरीक्षक शर्माले बताए।
भन्सार छली गरेका तीन लाखभन्दा बढीका कपडा बरामद काठमाडौं ।सशस्त्र प्रहरी बल नेपाल नं ३४ गण कैलालीबाट खटिएको सशस्त्र प्रहरी बल नेपालको टोलीले आज भन्सार छलीका रु तीन लाखभन्दा बढीका कपडा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपालको टोलीले गोदावरी नगरपालिका–१ अत्तरिया इलाकामा भारतबाट अवैध रुपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको रु तीन लाख १२ हजार ४७० बराबरको लेडिज र जेन्स आइटमका थान कपडा बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं ३४ गणको कार्यालयले जनाएको छ । बरामद गरिएका कपडा आवश्यक कारबाहीका लागि कैलाली भन्सार कार्यालय धनगढीमा बुझाइएको जनाइएको छ ।
छ वर्षअघि वन मुद्दाका फरार प्रतिवादी पक्राउ काठमाडौं । कैलालीमा वन मुद्दाको फरार प्रतिवादी नारायण साउँदलाई प्रहरीले आज पक्राउ गरेको छ । जिल्ला अदालतको फैसलाअनुसार छ वर्षअघि वन मुद्दामा रु एक लाख १३ हजार ४६ जरिवाना तोकिएको फरार प्रतिवादी गौरीगङ्गा नगरपालिका–५ अण्डैयाका साउँदलाई पक्राउ गरिएको हो । साउँदलाई इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरिएको हो ।  उनीमाथी आवश्यक कारबाहीका लागि कैलाली जिल्ला अदालत धनगढीमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए।
संरक्षित वन्यजन्तु गैंडाको खागसहित दुई जना पक्राउ काठमाडौं ।गैंडाको खागसहित दुई जना प्रहरीको फन्दामा परेका छन् । सोलुखुम्बुको दूधकोशी गाउँपालिका ६ का १९ वर्षीय तिलकबहादुर बस्नेत र बागलुङको तमनखोला गाउँपालिका १ का २८ वर्षीय दीपक गोतामेलाई पक्राउ गरेको हो। उनीहरुको साथबाट प्रहरीले ९७० ग्राम तौल भएको १ थान गैँडाको खाग बरामद गरेको छ । अवैध रूपमा ओसारपसार गरी ल्याएको दुर्लभ वन्यजन्तु गैंडाको खागको कारोबार भइरहेको गोप्य सूचनाका आधारमा उनीहरुलाई महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौं महानगरपालिका ९ गैरीगाउँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुलाई थप अनुसन्धानको लागि जिल्ला वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको अपराध महाशाखाले जनाएको छ ।
जीप दुर्घटना हुँदा एकको मृत्यु, सात घाइते काठमाडौं। सल्यानमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । दुर्घटनामा परी जिल्लाको बागचौर नगरपालिका निवासी १८ वर्षीय आशीष बस्नेतको ज्यान गएको छ । जिल्लाको वागचौरबाट दाङतर्फ जाँदै गरेको भे१च १८९० नंको जीप कपुरकोट गाउँपालिका–३ स्थित मूलपानी नजिकै दुर्घटना भएको हो । दुर्घटनामा परी वागचौर नगरपालिका–१ निवासी १४ वर्षीय आयुष बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका बस्नेतको उपचारका लागि दाङ लिँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिए । यस्तै दुर्घटनामा परी घाइते हुनेमा वागचौर नगरपालिका–१ का २२ वर्षीय मनोज बस्नेत, सोही नगरपालिका–२ का २७ वर्षीया सीता वली, २८ वर्षीय बबिता रावल, ११ वर्षीया आशिका रेउले र जीप चालक वागचौर नगरपालिका–२ १९ वर्षीय हिक्मत पुन मगर रहेको प्रहरीको भनाइ छ । घाइतेहरूको प्रादेशिक अस्पताल तुल्सीपुरमा उपचार भइरहेको छ । जीप सडकबाट सय मिटर तल खसेको र दुर्घटनाको कारण खुल्न सकेको छैन । दुर्घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पहिरोमा पुरिएर मृत्यु भएका पीडित परिवारलाई एक लाख २० हजार काठमाडौं। पहिरोमा पुरिएर मृत्यु भएका पीडित परिवारलाई किरिया खर्च उपलब्ध गराइएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले बसेडीका भानु, देवानी र पवित्रा पार्कीका परिवारलाई किरिया खर्चबापत एकमुष्ट रु एक लाख २० हजार उपलब्ध गराएको हो । निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीका अनुसार,“ मृतकको गाउँमै पुगेर किरिया खर्च उपलब्ध गराएका हौं, सङ्घीय सरकारले दिने राहतबाट कट्टी गर्ने गरी तत्कालका लागि राहत दिएका छौँ ।” सङ्घीय सरकारले बाढीपिहिरोबाट मृत्यु भएकालाई प्रतिव्यक्ति रु दुई लाख १५ हजार र सोही घरका थप अरुको पनि मृत्यु भए जनही रू एक लाख थप राहत दिने निर्णय गरेको थियो । यही कात्तिक २ गते घरमाथिबाट खसेको पहिरोमा पुरिएर तीनै जनाको मृत्यु भएको थियो । यस्तै शिवनाथ गाउँपालिकाले पनि मृतकका परिवारलाई जनही रू ५० हजार राहत दिने निर्णय गरेको अध्यक्ष कर्ण साउदले जानकारी दिए। बैतडीमा पहिरोमा परेर चार जनाको मृत्यु भएकामा सुर्नया गाउँपालिका–५ की परुदेवी महराको पहिरोमै परेर मृत्यु भएको थियो । बाटो बन्द रहेकाले परुदेवीको परिवारसम्म पुग्न नसकिएको र केही दिनभित्रै किरिया खर्च उपलब्ध गराइने जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।
विश्वकप इतिहासमै सबैभन्दा कम स्कोरमा अलआउट हुने दोस्रो टिम बन्यो वेष्ट इण्डिज काठमाडौं। टि–२० क्रिकेट विश्वकपको डिफेण्डिङ च्याम्पियन वेष्ट इण्डिजले यस पटकको विश्वकपको सुरुवात भने निकै खराब तरिकाले गरेको छ । आज आफ्नो पहिलो खेलमा इङ्ल्याण्डसँग टस हारेर ब्याटिङको निम्तो पाएको वेष्ट इण्डिजले निकै लाजमर्दो रेकर्ड बनाएको छ । टि–२० विश्वकपको इतिहासमा वेष्ट इण्डिज सबैभन्दा सफल टिम पनि हो । अहिलेसम्म उसले मात्रै २ पटक टि–२० विश्वकपको उपाधि जित्न सकेको छ । उसले २०१२ र २०१६ गरी २ पटक विश्वकपको उपाधि जितेको छ । आजको खेलमा वेष्ट इण्डिज केवल ५५ रनको स्कोरमा अलआउट भयो । १४ ओभर २ बल खेलेर अलआउट भएको वेष्ट इण्डिजका लागि क्रिस गेलले १३ रन बनाए । अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा स्कोर गर्न सकेनन् । इङल्याण्डका लागि आदिल राशिदले ४, टाइकल मिल्स र मोइन अलीले २–२ तथा क्रिस वोक्स र क्रिस जोर्डनले १–१ विकेट लिए । यससँगै वेष्ट इण्डिज टि–२० विश्वकपको इतिहासमा सबैभन्दा कम स्कोरमा अलआउट हुने दोस्रो टिम बनेको छ । टि–२० विश्वकपमा सबैभन्दा कम स्कोरमा अलआउट हुने टिम नेदरल्याण्ड हो । नेदरल्याण्डलाई २०१४ मा बंगलादेशमा भएको विश्वकपमा श्रीलंकाले ३९ रनमा अलआउट गरेको थियो । त्यसपछि नेदरल्याण्डलाई अहिलेको जारी विश्वकपमा श्रीलंकाले नै ४४ रनमा अलआउट गरेको थियो । त्यसपछिको कम स्कोर आज वेष्ट इण्डिजले बनाएको ५५ रन हो ।
सेतीमा हाम फालेर सुर्माकी किशोरी बेपत्ता बझाङ । सेती नदीमा हाम फालेर एक किशोरी बेपत्ता भएकी छन् । सुर्मा गाँउपालिका- ४ भेलाद घर भएकी अन्दाजी १९ वर्षकी सीमा कुमारी बोहराले सदरमुकाम नजिकै सेती नदीमा हाम फालेकी हुन् । उनी हाल जयपृथ्वी नगरपालिका-१० चैनपुरमा बस्दै आएकी थिइन् । बोहराले आज विहान पौने दश बजेको समयमा रिङरोडमा रहेको सिमलको रुख नजिकैबाट हाम फालेको प्रहरीले जनाएको छ । बोहराले किन आत्माहत्या गरेकी हुन् भनेर नखुलेको र उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । शुक्रवार पनि जयपृथ्वी नगरपालिका-१० का नविन सुनारले सेती नदीमा हाम फालेर आत्महत्या गरेका थिए ।
सहकारीले नै दुग्ध प्रशोधन केन्द्र चलाउने काठमाडौं । तनहुँको एक सहकारीले दुग्ध प्रशोधन केन्द्र सञ्चालन गर्ने भएको छ । दुलेगौँडामा रहेको शुक्ला कृषि पर्यटन सहकारीले किसानले उत्पादन गरेको दुधलाई ब्राण्डिङ गरी बजारीकरण गर्न दुग्ध प्रशोधन केन्द्र सञ्चालन गर्न लागेको हो । दुग्ध प्रशोधन केन्द्र सञ्चालन गर्न कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गतको नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना विकेन्द्रीकृत आयोजना सहयोग इकाई पोखरासँग सहकारीले सम्झौता गरेको छ । जिल्लाको शुक्लागण्डकी नगरपालिका–४ गाछेपानीमा प्रशोधन केन्द्र निर्माण हुदैँछ । आगामी साउनसम्म निर्माण सम्पन्न गरी प्रशोधन केन्द्र सञ्चालनमा ल्याउनेगरी सम्झौता भएको हो । ९९ लाख २९ हजार ३०० रुपैयाँको लगानीमा प्रशोधन केन्द्र सञ्चालन गर्ने सहकारीका अध्यक्ष मुक्ति सिग्देलले जानकारी दिए । उनका अनुसार सहकारीले १९ लाख ४० हजार ६ सय ४७ रुपैयाँ लगानी गर्नेछ । राष्ट्रिय शहकारी बैंक दमौली शाखाले ३० लाख २४ हजार ३ रुपैयाँ ऋण लगानी गर्नेछ । नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना विकेन्द्रीकृत आयोजना सहयोग इकाईले ४९ लाख ६४ हजार ६ सय ५० रुपैयाँ अनुदान उपलब्ध गराउने सिग्देलले बताए । गुणस्तरिय दुध, दही, घ्यू, पनिर, आइसक्रिम बनाउने र प्याकेजिङ गर्न आवश्यक यन्त्र उपकरण प्रशोधन केन्द्रमा जडान हुनेछ । कच्चा पदार्थ खरिद, ढुवानी, बजार प्रबद्र्धन र बिमामा परियोजनाको सहयोग रहने जनाइएको छ । सहकारीले पशुपालनका निम्ति बिना धितो कर्जा लगानी गरिरहेको सिग्देल बताउँछन् । सहकारीको सहकार्यमा गाउँ–गाउँमा गाईभैँसी फर्मह सञ्चालनमा छन् । सहकारीले शुक्लागण्डकी नगर क्षेत्रका किसानले उत्पादन गरेको १२ सय लिटर दुध दैनिक बजारमा पुर्‍याइरहेको छ । हाल प्रशोधन बिनै रबरले दुधको पोका बाँधेर बजारमा पठाइरहेको सहकारीका उपाध्यक्ष मुक्तिनाथ तिम्लिसिनाले बताए । ‘अब बजारमा ब्राण्ड बनाएर बेच्नुपर्ने सरकारी नीतिअनुसार प्रशोधन केन्द्र सञ्चालन गर्दैछौँ । प्रशोधित दुध उपभोक्ताको स्वास्थलाई पनि हितकारी हुन्छ’, उनले भने । नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाका विज्ञ निर्मलप्रसाद चापागाईले गुणस्तरीय दुध उत्पादन गरी किसानलाई आत्मानिर्भर बनाउन परियोजनाले सघाउने बताए । उनका अनुसार कार्यस्थलमा काम सम्पन्न भएपछि मात्रै आयोजनाले दिने अनुदानको भुक्तानी हुनेछ ।
ओलीले भनेः हाम्रो गणना एक नम्बरमा छ काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले चौतर्फी हमला भइरहदा पनि एमाले सबै ठाउमा सबैभन्दा मजवुद शक्ति भएको दाबी गरेका छन्। देशभरका वडा अधिवेशन उद्घाटन शत्रलाई भर्चुअल सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले संघीय संसददेखि ६ वटा प्रदेशमा सबैभन्दा ठूलो शक्ति भएको भन्दै एमालेकोे गणना एक नम्बरमा हुने बताए। ‘भोलिपनि हामी एक नम्बरमै हुन्छौं । एमाले नेता पार्टी हो । यसले देशलाई मार्गदर्शन गर्नुपर्छ। नमूना काम गर्नुपर्छ। हामीले निर्धारण गरेको समृद्ध नेपाल सुखी नेपालीको आकांक्षा पुरा गर्नुपर्छ । यसअनुसार अघि वढ्नुस्,’ सम्वोधनका क्रममा उनले भने। उनले जनताको समर्थनमा जनआधारित पार्टी बनाउने काममा लाग्न अधिवेशनबाट चुनिएर आउने नेतृत्वलाई आग्रह गरेका छन्। उनले केन्द्रीय नेतृत्वलाई सफल बनाउन तल्ला कमिटीको महत्वपूर्ण भूमिका हुने भन्दै क्रियाशिल भएर देश र जनताको बृहत्तर हितमा केन्द्रीत हुन आग्रह गरे।
तीघ्रामा लुकाइएको सात किलो चरेशसहित महिला पक्राउ काठमाडौं । लागुऔषध चरेश नेपालबाट भारततर्फ लाँदै गर्दा एक महिला पक्राउ परेकी छिन्। पर्सा पोखरिया नगरपालिका–४ सतवरिया बस्ने वर्ष ४१ की ललसा देवी रौनियारलाई बारा प्रहरीले मटियर्वास्थित नेपाल र भारतको सिमनामा पर्ने दशगाजा क्षेत्रवाट पक्राउ गरेको हो । ती महिलााको तीघ्रामा लुकाइएको १४ पोकामा सात किलो चरेश रहेको प्रहरी निरीक्षक सुरेन्द्र यादवले जानकारी दिए । बरामद भएको चरेशको बजार मूल्य करिब पाँच लाखभन्दा बढी रहेको छ । पक्राउ परेकी ती महिलालाई जिल्ला अदालतबाट सात दिनको म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नेपाल स्काउटद्वारा युवा तथा खेलकुदमन्त्री दीक्षित काठमाडौँ । युवा तथा खेलकुद मन्त्री महेश्वरजङ्ग गहतराजले स्काउट दीक्षा ग्रहण गरेका छन् । नेपाल स्काउटको प्रमुख स्काउटसमेत रहेका मन्त्री गहतराजले नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयमा आयोजित एक विशेष समारोहमा स्ववाचन गरी दीक्षा ग्रहण गरेका हुन् । दीक्षान्त पश्चात वरिष्ठ स्काउटर प्रा गोविन्दनारायणले प्रमुख स्काउटलाई नेपाल स्काउट स्कार्फ प्रदान गर्नुका साथै निर्देशक रामप्रसाद भट्टराईले माल्यार्पण गरेका थिए । सो अवसरमा मन्त्री गहतराजले नेपाल स्काउट युवालाई नैतिक शिक्षा, अनुशासन र राष्ट्रप्रेम सिकाउने संस्थाको रुपमा सबल बनाउने बताए। उनले नेपाल स्काउटमा राजनीतिक हस्तक्षेप नहोस् भन्नेमा आफु पनि दृढ रहेको बताउँदै राष्ट्रिय अन्तरराष्ट्रियरुपमा पहिचान बोकेको संस्थालाई अगाडि बढाउन सबैको सल्लाह लिएर अगाडि बढ्ने बताए । समारोहमा वरिष्ठ स्काउटर प्रा गोविन्दनारायणलाई सम्मानसमेत गरिएको थियो । मन्त्री गहतराजले स्काउट कार्यालय परिसरमा स्काउटका प्रर्वतक लर्ड बेडेन पावेल र ओलेभ बेडेन पावेलको प्रतिमामा माल्यार्पण गरी भौतिक सम्पत्तिको बारेमा जानकारी लिंदै अवलोकन गरेका थिए। कार्यक्रममा नेपाल स्काउटका पूर्वराष्ट्रिय पदाधिकारी, प्रदेश संयोजक, उपत्यकाभित्र रहेका वरिष्ठ स्काउटर र स्थानीय तहका संयोजकलगायत स्काउटर तथा रोभर, रेन्जरको उपस्थिति रहेको थियो । नेपालमा सन् १९५२ मा स्थापना भएको स्काउट हालसम्म निरन्तररूपमा सबै जिल्लामा क्रियाशिल रहेको छ । अनुशासन, साहस एवम् सहयोगलाई मूलमन्त्र मानेर अघि बढेको स्काउटको मिसनअनुसार नेपालमा युवालाई जिम्मेवार नागरिक बनाउने, उनीहरुको भौतिक, बौद्धिक, सामाजिक, आध्यात्मिक तथा भावनात्मक विकास गर्ने लक्ष्य लिएको छ । स्काउट विशुद्ध गैरराजनीतिक एवम् सामाजिक अभियानको अभियन्ताको रूपमा आम नेपाली युवायुवती, बालबालिका तथा वृद्धवृद्धालाई चेतनाको विकास गराई देश विकास तथा समृद्धिका निम्ति आर्थिक, शैक्षिक, सामाजिक, मानसिक, सांस्कृतिक रूपान्तरण गराउने कार्यमा निरन्तर लागिपरेको छ ।
बाढी, पहिरो र डुबानमा परी हालसम्म १११ जनाको मृत्यु, ४२ जना घाइते, ३७ जना बेपत्ता काठमाडौं । अविरल वर्षाको कारण कात्तिक १ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी शुक्रबार दिउँसोसम्म १ सय ११ जनाको मृत्यु भएको छ । बाढी पहिरोमा परी १ नम्बर प्रदेशमा ६५ जना, बागमती प्रदेशमा १ जना, गण्डकी प्रदेशमा २ जना, लुम्बिनी प्रदेशमा ४ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा ३२ जना गरी जम्मा १ सय ११ जनाको मृत्यु भएको हो । साथै १ नम्बर प्रदेशमा २१ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा १७ जना गरी जम्मा ४२ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ । बाढी पहिरोमा परी १ नम्बर प्रदेशमा ११ जना, २ नम्बर प्रदेशमा १ जना, लुम्बिनी प्रदेशमा १ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्चिम प्रदेशमा २३ जना गरी जम्मा ३७ जना वेपत्ता भएका छन् । वेपत्ताको खोजी कार्य जारी छ । बाढीको कारण जम्मा २ हजार २ सय ३२ वटा घर डुबानमा परेका छन् । ७८ वटा घर, १६ वटा गोठ, ६ वटा पुल, १ वटा विद्यालय र ३ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । १ सय ८६ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्‍का घटनाबाट १ हजार १ सय ८८ वटा घर परिवार विस्थापित भएका छन् । साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध समेत प्रहरीले हटाउने कार्य गरिरहेको छ ।
आठ वर्षपछि बलात्कार कसुरदार पक्राउ काठमाडौं ।बलात्कारका कसुरदारलाई काभ्रेपलाञ्चोक जिल्ला प्रहरी कार्यालयले आठ वर्षपछि धुलिखेलबाट पक्राउ गरेको छ। बेथानचोक गाउँपालिका ४ का ४५ वर्षीय रामहरि राउतलाई प्रहरीले पक्राउ गरेको हो। राउतलाई ललितपुर जिल्ला अदालतले २०७० भदौ २६ गते १० वर्ष कैद फैसला सुनाएको थियो। कैद फैसलापश्चात फरार रहेका राउतलाई धुलिखेल नगरपालिका ७ बाट पक्राउ गरिएको काभ्रेपलाञ्चोक जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार पक्राउ परेका महतलाई कानुनबमोजिम कैद तथा जरिवाना फस्र्योटका लागि जिल्ला अदालत धुलिखेलमा पेश गरिएको छ। फैसला कार्यान्वयनको सिलसिलामा अदालतबाट प्राप्त लागतमा फरार रहेका प्रतिवादी खोजतलासका क्रममा महत पक्राउ परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयले प्रहरी अधिकृतको नेतृत्वमा फरार प्रतिवादी खोजतलास अभियान सञ्चालन गरिरहेको छ।
तोकिएको भाडा दर भन्दा बढी रकम लिने थिङ कारबाहीमा काठमाडौँ । तोकिएको बढी भाडा लिने सुमोलाई प्रहरीले नियन्त्रणमा लिई कारवाही गरेको छ । यात्रुहरुसंग तोकिएको भाडा दर भन्दा बढी रकम लिने ना १ ज ६६२४ नं को यात्रुवाहक सुमोलाई नियन्त्रणमा लिई कारबाही गरेको हो । हरेक वर्ष सुमो व्यवसायीहरुले विशेष गरि दशैं र तिहारमा मनोमानि ढङ्गले अत्याधिक भाडदर वृद्धि गर्दै आएका छन् । यो पटक पनि सुमो व्यवसायीले आफ्नै मनोमानि ढङ्गले भाडादर दोब्बर गरेको यात्रुहरुको गुनासो छ । बढी भाडा फिर्ता गरी उक्त सुमो र सुमो चालक जिल्ला मकवानपुर साबिक पदमपोखरी १ बस्ने बर्ष २९ को सुबास थिङलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
बाढीबाट ३०० परिवार बिचल्लीमा काठमाडाैं। मोहुली नदीको बाँध भत्किँदा सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–३ पोर्ताहामा करिब ३०० परिवार बिचल्लीमा परेका छन् । अविरल वर्षासँगै आएको बाढीका कारण नदीको बाँध भत्किँदा त्यो बस्तीमा पानी पसेपछि उनीहरू बिच्चलीमा परेका हुन् । स्थानीयवासी महान्नद यादवले वर्षेनि यस्तो समस्या खेप्दै आएका बेला नदी किनारमै रहेका दलित समुदायका बासिन्दालाई कष्टकर अवस्था खेप्नुपर्ने बाध्यता रहेको बताए। राति अचानक ती बस्तीमा बाढी पस्दा साँझमा खाना पकाउनसमेत उनीहरू सकिएको छैनन् र अहिलेसम्म पनि भोकै रहेको पीडितले बताएका छन् । सोही वडाअन्तर्गत रहेको डोम बस्तीमासमेत छिरेको बाढीले करिब २० घर डोम परिवारलाई उठिबास बनाएको छ । डोम बस्तीअन्तर्गत चन्द्र मरिक, उपेन्द्र मरिक, सभापेत मरिक, सञ्जिव मरिक सुरेन्द्र मरिक, विरेन मरिकलगायत २० घर डोम परिवारलाई रूवावासी भएको छ । दुई दिनदेखि भोकै बस्न बाध्य बनेका उनीहरूलाई कतैबाट सहयोग मिल्न नसकिएको बताइएको छ । बाढी प्रभावित बस्तीमा जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रमुख जनार्दन गौतमसहितका टोलीले निरीक्षण गरेको छ । रासस
अविरल वर्षाको कारण चितवनमा ३० % धानबाली क्षति चितवन । अविरल वर्षाको कारण चितवनका धानबालीमा ३० प्रतिशत क्षति पु¥याएको छ । पानी र हावाहुरीले धान ढालेर, डुबाएर र बगाएर क्षति भएको हो । जिल्लामा २० प्रतिशत हाराहारी धान भित्र्याइएको भए पनि बाँकी धान खेतमै रहेको छ । कतिपय काटेर सुकाइएको छ भने कतिपय काट्न नै बाँकी रहेको छ । काट्न बाँकी धान पनि ठाडो अवस्थामा छैन । कृषि ज्ञान केन्द्र भरतपुरका योजना अधिकृत उमाराज अर्यालका अनुसार जिल्लाको पूर्वी क्षेत्र र माडीमा ५० प्रतिशत धान भित्र्याइसकिएको छ । भरतपुर महानगरपालिका क्षेत्रमा १० प्रतिशत मात्रै भित्र्याइएको छ । भित्र्याउन बाँकीमध्ये महानगरमा ७० प्रतिशत खडा अवस्थामा र २० प्रतिशत हाराहारी काटेको अवस्थामा रहेकामा दुवै धानमा आधाभन्दा बढीमा क्षति पुगेको उनले जानकारी दिए । पूर्वी चितवन र माडीमा ३० प्रतिशत काटेको अवस्था र २० प्रतिशत काट्न बाँकी रहेकामा खडा अवस्थाको धान ढलेको छ भने पाँजा पानीले डुबाएको छ । जसका कारण दुवै धानमा क्षति पुगेको अर्यालको भनाइ छ । उनको भनाइमा पानीमा डुबेको धानबाट राम्रो चामल, चिउरालगायत उत्पादन हुन सक्दैन । काट्न बाँकी र काटिएका धानको पराल काम लाग्ने अवस्थामा नरहेको उनले जानकारी दिए ।
जीप दुर्घटनामा पाँच जनाको मृत्यु काठमाडाैं। भारतको पिथौरागढमा पीएच०१एजेड ९७४४ नम्बरको फर्चुनर गाडी भिरबाट खस्दा बैतडीका दुई जना सहित ५ जनाको मृत्यु भएको छ । भारतको पिथौरागढ जिल्ला थलभुवानी नजिक गाडी भिरबाट खसेर दुर्घटना भएको हो । दुर्घटनामा बैतडीको पाटन ६ का मोहन जोशी, खिमाली गाउँका दीपक अवस्थी, भारतीय सेनाका अवकासप्राप्त ब्रिग्रेडियर विनोदकुमार चन्द, पिथौरागढकै कल्याण चन्द र रघुवीर सिंहको मृत्यु भएको भारतीय संचार माध्यमहरूले जनाएका छन् । दुर्घटनामा मृत्यु भएका जोशी पाटन बहुमुखी क्याम्पस पाटन बैतडीमा प्राध्यापनरत थिए । गाडी विनोदकुमार चन्द आफैँले चलाइरहेका थिए । उनको गाउँ बुगामा आजै कुलपूजा थियो । पूजाभन्दा अगाडि बैतडीका अवस्थी र जोशीले चन्दलाई स्नानका लागि कर्णप्रयाग जाने सल्लाह दिएका थिए । स्नान गरेर कुलपूजाका लागि फर्किंदै गर्दा दुर्घटना भएको त्यहाँको प्रहरीले जनाएको छ । अवस्थी र जोशी चन्दका कुल पुजारीसमेत थिए । चन्द राति अनिँदो रहेका र गाडी चलाउँदा निद्रा लागेपछि दुर्घटना भएको त्यहाँको प्रहरीलाई उद्धृत गर्दै संचार माध्यमले जनाएका छन् ।
प्रधानसेनापतिसँग राजदूत भोल्कको भेटवार्ता काठमाडाैं। प्रधानसेनापति प्रभुराम शर्मासँग नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी जाने भोल्कले शिष्टाचार भेटवार्ता गरेकी छिन् । सैनिक मुख्यालय जङ्गीअड्डामा उनीहरुबीच भएको भेटवार्तामा द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा विचार विमर्श भएको सैनिक जनसम्पर्क तथा सूूचना निर्देशनालयले जनाएको छ । भेटवार्ताले दुई देशबीचको सम्बन्ध सुमधुर तुुल्याउन थप मद्दत पुग्ने सेनाले विश्वास लिइएको छ ।
केही दिनदेखिको अविरल वर्षाका कारण आठ सडक अवरुद्ध काठमाडाैं। केही दिनदेखिको अविरल वर्षाका कारण देशरभका आठ सडक अवरुद्ध भएका छन् । बझाङमा खोड्पे–चैनपुर सडक जालिबगर र नारुघाटमा र धनगढी–सहजपुर–वुडर सडक र सतबाँझ–थाकतोली–दार्चुला–तिङ्कर सडक  मङ्गलबारदेखि नै अवरुद्ध छ । कालिकोट जिल्लामा सुर्खेत तल्लो डुङगेश्वर–सातखम्बा–दुल्लु–पिपलकोट–खुलालु–मान्मा–नाग्मा–जुम्ला सडक विभिन्न चेनेजमा अवरुद्ध रहेको सडक विभागले जनाएको छ । पुष्पलाल राजमार्ग, डुम्रे–बेँसीसहर–चामे सडक, राप्ती राजमार्गलगायतका राजमार्गमा बाढी र पहिराका कारण यातायात ठप्प भएको हो । पुष्पलाल राजमार्गअन्तर्गत ओखलढुङ्गाको हिलेपानी–जयरामघाट हलेसीखण्ड र सिन्धुली जिल्लाको खुर्कोट–घुर्मी खण्डको अक्करे भिर तथा सोखुखोलामा सडक अवरुद्ध छ । डुम्रे–बेँसीसहर–चामे सडक मनाङ जिल्लाको विभिन्न खण्डमा अवरुद्ध छ । सो सडक अहिले निगालाघारी, खोत्रो र दानाक्युमा अवरुद्ध रहेको छ । यो महिनाको सुरुदेखि भइरहेको वर्षाका कारण जम्मा १२ सडक अवरुद्ध भएकामा अहिले चार सडक खुलाइसकिएको विभागले जनाएको छ । कोसी राजमार्गअन्तर्गत धनुकटामा लेती खोलामा ४० मिटर सडक कटान भएकामा एकातर्फबाट खुलाइएको छ । राप्ती राजमार्गअन्र्तगत सल्यानमा अरिङ्गलेफेदीमा अवरुद्ध भएकामा एकातर्फबाट चालु भएको छ । सल्यानको कपुरकोट गाउँपालिकाले पहिरो सफा गरेपछि एकातर्फबाट चल्न थालेको हो । विपी राजमार्गअन्तर्गत सिन्धुलीको कमेरे फाँटमा पनि मङगलबार सडक अवरुद्ध भएको थियो । सडक थप खुलाउने काम भइरहेको छ । वर्षाकै कारण अवरुद्ध भएको भालुवाङ–लिवाङ रोल्पा माडीचौर दारबोट सडक प्युठानको गनाहा चकचके खण्डमा अवरुद्ध भएकामा अहिले चालु भइसकेको छ । यो वर्ष जेठबाट नै वर्षा सुरु भएर राष्ट्रिय राजमार्ग विभिन्न खण्डमा अवरुद्ध भइरहेका छन् । वर्षा सुरु भएपछि २३८ सडक अवरुद्ध भएकामा आठ हाल अवरुद्ध छन् भने बाँकी सञ्चाचलनमा छन् । आजसम्ममा १३४ आशिंकरूपमा र ९६ दुवैतर्फ चालु रहेको विभागले जनाएको छ ।
सुनसरीमा बाढीका कारण तीनको मृत्यु, छ बेपत्ता काठमाडाैं। बाढी कारणले सुनसरीमा बुधबार तीन जनाको मृत्यु भएको छ भने छ बेपत्ता भएका छन् । मृत्यु हुनेमा धरान–६ का ७२ वर्षीय विष्णु सुनार, इटहरी–३ का चन्द्रमणि काफ्ले र धरान–११ का भोगेन्द्र राई रहेको छन् । त्यसैगरी बाढीमा परेर छ जना बेपत्ता भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए । बेपत्ता हुनेमा इटहरी–२ का रोशन बुढाथोकी, इटहरी–७ का कैलाश मण्डल, इटहरी–२ का योगेन्द्र तिवारी, इटहरी–३ का राजकुमार राई, इटहरी–९ का विनोद पराजुली र भोक्राहा नरसिंह गाउँपालिका–७ का कलर मण्डल रहेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए। उनीरूको खोजी जारी रहेको छ ।
१३ लाख ठगी गर्ने नक्कली डीएसपी पक्राउ काठमाडाैं।नेपाल प्रहरीको डिएसपी हुँ भन्दै ठगी गर्ने एकजना प्रहरीकै फन्दामा परेका छन् । आफूलाई नेपाल प्रहरीको प्रहरी नायब उपरीक्षक (डीएसपी) हुँ भन्दै ठगी धन्दा चलाएर हिँडेका झापाका निलम भट्टराईलाई मंगलबार सुर्खेत प्रहरीले पक्राउ गरेको हो । राष्ट्रिय अनुसन्धान विभागको प्रहरी निरीक्षक (इन्सपेक्टर) मा जागिर लगाइदिने भन्दै एक महिलासँग १३ लाख रुपैयाँ ठगी गरेको उजुरी आएपछि भट्टराईलाई पक्राउ गरिएको सुर्खेतका प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर विष्टले बताए । ‘भट्टराईका साथबाट नक्कली डीएसपीको परिचयपत्रसमेत बरामद भएको छ,’ उनले भने,‘महानगरीय प्रहरी अपराध महाशाखा काठमाडौंले जागिर लगाइदिने प्रलोभन दिएर ठगी गर्ने नक्कली डीएसपी सुर्खेत आसपासका क्षेत्रमा रहेको भन्ने सूचनाका आधारमा भट्टराईलाई पक्राउ गरिएको हो ।’ कालो रंगको गाडीमा हिँड्ने भट्टराईको हाउभाउ हेर्दा जो कोहीले पनि प्रहरीकै डीएसपी होला भनेर सहजै अनुमान गर्ने गरेको ठगिएका पीडितहरूले बताएका छन् । पक्राउ परेका भट्टराईलाई सुर्खेत प्रहरीले आजै हवाईजहाजबाट महानगरीय प्रहरी अपराध महाशाखा काठमाडौं पठाएको छ ।
रासायनिक मल चीनबाट आउन सुरु काठमाडाैं। चीनबाट मगाएको रासायनिक मल नेपाल आउन सुरु गरेको छ । तातोपानी नाका हुँदै आजसम्म तीन सय ४० मेट्रिक टन युरिया मल भन्सार प्रक्रिया पूरा गरी राजधानी भित्रिएको हो । हिउँदेबालीका लागि कम्पनीले सिल्क ट्रान्सपोर्ट प्रालिमार्फत ३५ हजार मेट्रिक टन युरिया र पाँच हजार मेट्रिक टन डिएपीसहित ४० हजार मेट्रिक टन रासायनिक मल मगाएको तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत गणेशप्रसाद पौडेलले बताए । किसानहरुले धानबाली भित्र्याई सकेपछि आलु तथा गुहँबाली सुरु गर्ने गर्दछन् । त्यसका लागि मलको अभाव हुन नदिने उद्देश्य राखी कृषि सामग्री कम्पनीले चीनबाट मल झिकाउन समयमै ठेक्का प्रक्रिया पु¥याएको थियोे । यद्यपि चिनियाँ पक्षले समयमै नेपाल पठाउन चासो नदिएपछि मल आउन ढिलाइ भएको हो । नेपाल सरकारले यसअघि पनि साल्ट टे«डिङ कम्पनीमार्फत चीनबाट चार हजार मेट्रिक टन युरिया मल मगाएको थियो ।
कुदुबासीको पानीको तिर्खा कहिले मेटिएला ? जाजरकोट । वाम एकता गरि चुनावी मैदान जाँदा तत्कालिन नेकपा (माओवादी केन्द्र) नेता शक्तिबहादुर बस्नेतको नारा थियो भेरी नगरपालिका–१३ कुदुमा यहीँ वर्ष खानेपानी पुर्याउने। उनी सोही नाराले चिर्वाचन जितेर वनमन्त्री पनि भए तर कुदुबासीको तिर्खा जस्ताको तस्तै छ। भेरी करिडोर अन्तर्गत जाजरकोट र रुकुम पश्चिम चौरजहारीको बीचमा पर्ने यो ठाउँ मध्यपहाडी लोकमार्गको मुख्य भागमा पर्छ। महत्वपूर्ण भूभागको बीचमा पर्ने भएकाले सबैलाई चुनावी नारा बनाउन यो ठाउँले साथ दिइरहेको छ। ठाउँको नाम बिक्री गरेर शक्तिबहादुर बस्नेत मन्त्री बने, तर यस ठाउँका नागरिकले भने तिर्खा मेटिनेगरी पानी पिउन पाएका छैनन्। करिब ५० लाख रुपैयाँ खर्चमा डिप बोरिङ गरि निकालिएको पानी पनि तीन सय परिवार कुदुबासीलाई हात्तीको मुखमा जिरा जस्तो भएको छ। तीन सय घरभुरी रहेको यो ठाउँको छेउबाट भेरी नदी बग्ने गर्छ। भेरी नदीको पाल्लो छेउमा नयाँ सहर बन्दै गरेको रुकुम पश्चिमको चौरजहारी छ। जाजरकोट खण्डमा भने पानी नपाएर बिहानैदेखि पालो कुरेर बस्नु पर्दा हैरान हुने गरेको स्थानीय नरबहादुर बस्नेतले बताए। बस्नेत भन्छन्, ‘यहीँ बाटो भएर जाने सर्वसाधारण ठाउँ त राम्रो हो, तर पानी नहुँदा बस्न मुस्किल रहेछ भन्छन्।’ कुदु सडक सन्जालले घेरेको स्थान पनि हो। तर खानेपानी अभावमा यहाँका सर्वसाधारणको जीवन कष्टकर छ । कुदुले जिल्लाभरिलाई पुग्ने खाद्यान्न उत्पादन गर्ने क्षमता राख्छ। नजिकै भेदी नदी, समथर भूभाग भए पनि सिंचाइ अभावमा खेतीयोग्य जमिनमा अपेक्षित उत्पादन हुन सकेको छैन। प्रत्येक दिन भेरी नदी किनारमा धमिलो पानी ल्याएर परिवारको तिर्खा मेटाउँदै आएकी पानमती विक पानीको दुःखले दिक्क भइसकेको बताइन्। उनी भन्छिन्, ‘फोहोर पानी पिउँदा हरेक हप्ता परिवारमा कोही न कोही बिरामी हुन्छन्, जानेरै फोहोर पानी पिउन बाध्य छौं।’ आँखाले सङ्लो देखिने पानीलाई सफा भनेर पिउँदै आएका जाजरकोट कुदुका सार्वसाधारणले पानीका लागि धेरै ठाउँमा गुहार मागे । खास परिणाम आउने गरी कतैबाट पनि काम नहुँदा दिक्क लागेको कुदुका श्याम विकले बताए। उनले भने, ‘भेरीको भेलमा हामीले पानी भरेर ल्याएको तपाईंहरूले देख्नुभएको छ, यसको फोटो खिचेर नेताहरूलाई जसरी नि देखाइ दिनुहोला, चिल्ला गाडीमा नेताहरू आउने बाटो यही भए पनि उनीहरुले देख्दैनन्।’ यही गाउँबाट प्रतिनिधित्व गर्ने अधिकांश नेता केन्द्रीय राजनीतिमा छन्। वर्षौंदेखि आफूहरूले राखेको खानेपानी माग पूरा नहुँदा सर्वसाधारण निराश छन्। कुदुमा पानीको समस्या नौलो नभएको बताउँछन् स्थानीय शेरबहादुर बस्नेत। बोरिङ गरेर निकालेको पानी एक घन्टा मात्र आउने हुँदा कुदुबासीलाई छेउ, टुप्पो हुने गरेको छ । कुदुका तीन सय परिवारलाई बोरिङको पानी हात्तीको मुखमा जिरा भएको स्थानीयवासी बताउँछन्। पानी अभावको समस्या लिएर माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत, मायाप्रसाद शर्मा, कालीबहादुर मल्ल, रामदीप आचार्य, एमालेका निरज आचार्य, कांग्रेसका मुक्ति आचार्यको घर समेत गरेको स्थानीय लोकेन्द्र रोकायले बताए । सिंचाइ भए जिल्लालाई खाद्यान्न आपूर्ति हुने कुदुमा खेतीयोग्य जमिन प्रशस्त भए पनि आकाशे पानीको भर पर्नु पर्दा उत्पादन राम्रो हुँदैन। कुदुमा जिल्लाको सबैभन्दा ठूलो खेतीयोग्य फाँट भए पनि आकाशे पानीको भरमा किसानहरू खेती गर्दै आएका छन्। पिउने पानी समेत नभएको ठाउँमा सिँचाइ सुविधा हुनु नयाँ विष त होइन। तर सिंचाइको सुविधा भए एउटै गाउँले सिंगो जिल्लालाई पाल्न सक्ने क्षमता राख्ने स्थानीय हरि बस्नेतले बताए। भेरी नदीबाट पानी निकालेर सिँचाइको व्यवस्था गर्न सके पूरै जिल्लालाई खाद्यान्न आपूर्ति गर्न सकिने किसानहरू बताउँछन्। कुदुमा तिहार लगत्तै खानेपानीको नयाँ आयोजना : बस्नेत पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य शक्तिबहादुर बस्नेतले कुदुको खानेपानी घोषणा पत्रमा मात्र होइन अब परिणाममा आउन लागेको दावी गरे। उनले भने, ‘पहिलो चरणमा खानेपानीको समस्या समाधान गर्नका लागि करिब दुई करोड ५० लाख रुपैयाँ विनियोजन गरी काम सुरु भइसकेको छ। अर्को वृहत योजनाका लागि ३६ करोड बराबरको डिपिआर तयार तिहारलगत्तै बोलपत्र आह्वान गर्न लागेको छ।’ संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना प्रमुख नारायण काफ्ले पनि सो कुराको पुष्टि गरे। उनले भने, ‘कुदुको खानेपानी समाधानका लागि तिहारलगत्तै जाजरकोट आएर काम थालनी गरिने छ, म आफैँ आएर फिल्ड अनुगमन गर्ने कार्यक्रम छ।’
शिक्षक सेवा आयोगको नियमावली संशोधन प्रस्ताव ल्याउन निर्देशन काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक सेवा आयोगको नियमावली, २०५७ (नवौँ संशोधन), २०७१ मा आवश्यक संशोधन गरी शिक्षक पदपूर्तीको प्रक्रिया आरम्भ गर्न मन्त्रालयका उच्चाधिकारी र शिक्षक सेवा आयोगका पदाधिकारीलाई निर्देशन दिएका छन् । राज्यमन्त्री बोधमाया कुमारी यादवका साथ ब्रिफिङ लिने क्रममा मन्त्रालयका सचिव रामप्रसाद थपलिया, आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीलगायतलाई मन्त्री पौडेलले उक्त निर्देशन दिएका हुन् । नियमावलीमा रहेका नियुक्ति प्रक्रिया ऐन, कानून तथा शिक्षक समुदायको सहमतिबमोजिम योग्यता, अध्यापन अनुमतिपत्रलगायत विषयमा सहजीकरणका लागि संशोधन गर्न लागिएको हो । मुलुकभर करिब ५४ हजार शिक्षक दरबन्दी अभाव रहेकामा आयोगले हाल करिब १८ हजार शिक्षकका लागि विज्ञापन गर्ने तयारी गरेको छ ।
वर्षासँगै चलेको हावाहुरीले बालीनालीमा क्षति काठमाडौं। दुई दिनदेखि जारी वर्षासँगै चलेको हावाहुरीले खोटाङमा बालीनालीमा क्षति पुर्‍याएको छ । वर्षासँगै चलेको हावाहुरीले पाक्न लागेको धान, कोदो, जुनेलोलगायतका बालीनालीमा क्षति पुर्‍याएको हो । भित्र्याउने बेलाको बालीनालीमा क्षति पुग्दा किसान चिन्तित बनेका छन् । जिल्लाका दुई नगरपालिका र आठवटै गाउँपालिकाका किसानले लगाएको बालीनालीमा पानी र हावाहुरीले क्षति पुर्‍याएको हो । हावाहुरीले सबैभन्दा बढी धानबालीमा क्षति पुर्‍याएको कृषि ज्ञान केन्द्रले जनाएको छ । १० नंग्रा खियाएर लगाएको बालीनाली सखाप हुँदा किसानको बेहाल बनाएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका ३ बाम्राङका वडा अध्यक्ष ललित राईले बताए । हाल हावाहुरीले निमिट्यान्न बनाएर ढालेको धानको तस्बीर सामाजिक संजालमा छाइरहेको छ । दिक्तेलका स्थानीय नवराज राईले हावाहुरीले लडाएको धानबालीको फोटो फेसबुकमा राखेर ‘धान स्वाहा भयो’ लेखेका छन् । दिक्तेलकै शिक्षक ज्ञानप्रसाद आचार्यले ‘वर्षभरिको कमाइ एकै छाक’ भन्दै हावाहुरीले ढालेको धानबालीको फोटो सामाजिक संजालमा राखेका छन् ।
सामान्य घरयासी झगडाको कारण बुबालाई खुकुरी हानेर छोरा फरार काठमाडौं। गुल्मीमा छोराले वुबालाई खुकुरी प्रहार गरेर फरार भएका छन् । धुर्कोट गाउँपालिका ४ जैसिथोक रातापोखराका ५५ बर्षीय हरि बहादुर घर्ति मगरलाई छोरा २९ बर्षीय राजेन्द्र घर्ति मगरले खुकुरी प्रहार गरेर भागेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरिक्षक गोपाल चन्द्र भट्टराइले जानकारी दिए । खुकुरी प्रहारबाट हरि बहादुरको टाउकोमा चोट लागेको छ । उनको गुल्मी अस्पतालमा उपचार भइरहेको भट्टराइले बताए । सामान्य घरयासी झगडाको कारण छोराले खुकुरी प्रहार गरी घाईते बनाएर भागेको प्रहरीले जनाएको छ । घटनाका आरोपितको खोजी कार्य जारी छ ।
उदयपुरमा बाढीले बगाएर ४० वर्षीय पुरुषको मृत्यु काठमाडौं। दयपुरको त्रियुगा नगरपालिका–५ लालपतास्थित बिलाउनेको कोरिया खोलामा आएको बाढीले ४० वर्षीय पुरुषलाई बगाउँदा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार बाढीले बगाएर मृत्यु हुने पुरुष बिलाउनेका ४० वर्षीय टुकबहादुर खड्का रहेको जिप्रका उदयपुरका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले बताए। खड्का आज बेलुकी खोला तरेर पल्लो गाउँ जान खोज्दा खोलाले बगाएको थियो भने खोजी गर्ने क्रममा प्रहरी टोली र स्थानीयले साँझ ६ः३० बजे एक किलोमिटर तल खोलाको बगरमा खड्का मृत फेला परेको प्रहरीले बताएको छ । अहिले जिल्ला प्रहरीको टोली घटनास्थल पुगेर खड्काको शव सर्जमिन मुचुल्का गरेर परीक्षणका लागि जिल्ला अस्पताल गाईघाट ल्याउने तयारी भएको जिल्ला प्रहरी उदयपुरले बताएको छ । घटनास्थल जिल्ला सदरमुकाम गाईघाटदेखि २५ किलोमिटर दक्षिण सप्तरी र उदयपुर जिल्लाको सिमानामा रहेको प्रहरीले बताएको छ ।
बाढीमा फसेका छ परिवारलाई सुरक्षित स्थानमा सारियो काठमाडौं। सुनसरीको तरहरास्थित पानीपियामा बाढीमा फसेका छ घर परिवारलाई सुरक्षाकर्मीले उद्धार गरेको छ । नेपाल प्रहरी र नेपाली सेनाले ती घर परिवारका १५ जनालाई उद्धार गरेको हो । उनीहरूलाई घण्टौँ लगाएर उद्धार गरिएको इलाका प्रहरी कार्यालय तरहराका प्रहरी नायव निरीक्षक मनोज अधिकारीले जानकारी दिए ।
बझाङको थलारामा पहिराले ७ घर पुरिए, एकै घरका १८ जना बेपत्ता काठमाडौं। बझाङको थलारा गाँउपालिका वडा नं ४ डिख्लामा गएराति पहिरो गएको छ । गाउँभन्दा माथिको ढोगदिना भन्ने ठाउँबाट पहिरो खस्दा दुई गाउँका २३ जना बेपत्ता भएका छन् भने भने सात घर पुरिएका छन् । बेपत्ता हुनेमा गगने सार्कीका एकै घरका १८ जना र नरे पार्कीका घरका पाँच जना रहेका छन् । गगने सार्की रोजगारीका लागि भारतमा छन् । उनका माइला छोरा काले सार्की मात्र सकुसल छन् । तल्लो डिख्ला र माथिल्लो डिख्ला गाउँका स्थानीय विस्थापित भई त्रिभुवन मा.वि महेन्द्रधारमा बसेका छन् । गाउँ पहिराको जोखिममा परेपछि सयभन्दा बढी परिवार विस्थापित भई आफन्त र नजिकैको विद्यालयमा बसिरहेको शान्ति मा.वि पाराकाट्नेका शिक्षक मदनबहादुर साउँदले बताए । सुदूरपश्चिमका पहाडी जिल्लामा सञ्चार सेवा अवरुद्ध हुँदा थप विवरणका लागि सम्पर्क हुन सकेको छैन । बाढीले सडक अवरुद्ध भएको र नेटवर्क नहुँदा समयमै खबर नपाएकोले उद्धारमा समस्या भइरहेको स्थानीयले बताएका छन् । उनीहरुले पहिरामा परेर बेपत्ता भएको भन्ने खबर आएको तर लगातारको बर्षाले बाटो अवरुद्ध भएकाले सो घटनास्थलसम्म जान नसकिएको बताएका छन् ।
पहिरोले घर पुरिँदा एकै परिवारका दुई बालबालिकाको मृत्यु काठमाडौं। सुनसरीको धरानमा वर्षासँगै आएको पहिरोले एकै परिवारका दुई बालबालिकाको मृत्यु भएको छ । धरान १३ स्थित नागेश्वर मार्ग बस्ने निशान राईका सात वर्षीय छोरी निसु र चार वर्षीय छोरा निहान राईको मृत्यु भएको हो । आज दिउँसो पौने २ बजे घरमाथिबाट आएको पहिरोले घरभित्र रहेका दुई बालबालिकालाई बेपत्ता बनाएको थियो । उद्धार टोलीले खोजी गर्दा साढे ३ बजे मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी नरेन्द्र कार्कीले जानकारी दिए । उनीहरूका बुबाआमा बाहिर बरन्डामा बसिरहेका बेला पहिरो आएको थियो । बुबाआमाले ज्यान बचाए पनि दुई छोराछोरीको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकका शवलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा राखिएको छ ।
पहिरोले बैतडी जोड्ने राजमार्ग अवरुद्ध काठमाडौं। लगातारको बर्षाले बैतडीका विभिन्न ठाउँमा पहिरो जाँदा प्रमुख राजमार्गह अवरुद्ध भएका छन् । महाकाली राजमार्ग अन्तर्गतको सतबाँझ–गोकुलेश्वर सडकखण्डको दोगडाकेदार गाउँपालिका–३ खोचलेकमा पहिरो जाँदा आवतजावत ठप्प भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । यसअघि सल्सेना र धरमघरमा पहिरो गएको पहिरो भने प्रहरीले पन्छाएको जनाएको छ । यसैगरी, जयपृथ्वी राजमार्ग अन्तर्गत मोतीनगरमा पहिरो जाँदा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले बताए ।
बर्सातले घर भत्कियो, दुईजनाको मृत्यु काठमाडौं। शनिबार देखिको लगातारको वर्सातका कारण डोटी जिल्लाको सायल गाउँपालिका–६ मेल्लेखमा पहिरो जाँदा घर भत्किँदा च्यापिए दुईजनाको मृत्यु भएको छ । मृत्युहुनेमा सायल–६ मेल्लेखका सागर र ११ आशिष कुन्जेडा छन् । जिल्ला प्रहरी कार्यालयका सह–प्रवक्ता तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दका अनुसार वर्सातले स्थानीयवासी वीरबहादुर कुन्जेडाको घर भत्किँदा च्यापिएर उनीहरुको मृत्यु भएको हो । च्यापिएका शव निकाल्न तथा थप उद्धारका लागि इलाका प्रहरी कार्यालय मौवाबाट प्रहरी निरीक्षक किसन चन्दको नेतृत्वमा प्रहरी टोली परिचालन भएको बताइएको छ । जिल्लामा वर्सातका कारण विभिन्न ठाउँमा क्षति भएका भए पनि सञ्चार सम्पर्क विच्छेद भएका कारण अन्य क्षेत्रको खबर प्रप्त हुन नसकेको प्रहरी प्रमुख दानबहादुर मल्लले जानकारी दिनुभयो ।
वर्ल्ड स्मार्ट सस्टेनेबल सिटी अर्गनाइजेसनको ५ औं साधारण सभा सम्पन्न काठमाडौं। वर्ल्ड स्मार्ट सस्टेनेबल सिटी अर्गनाइजेसनको ५ औं साधारण सभा सम्पन्न भएको छ । धुलिखेल नगरपालिकाका कार्यकारी समिति सदस्य निर्वाचित भइ धुलिखेल सन् २०२१ देखि २०२३ सम्मका लागि निर्वाचित भएको हो । १ सय ३६ देशको शहर सदस्य रहेकोमा १७ सदस्य सो कार्यसमितिमा धुलिखेल सहित निर्वाचित भएको छ । धुलिखेलको तर्फबाट उक्त सभामा नगर प्रमुख अशोक कुमार व्याञ्जु श्रेष्ठले सम्बोधन गरेका थिए।
वर्षाका कारण कतै राहत, कतै घात काठमाडाैं । आइतबारदेखि परेको अविरल वर्षाका कारण कतै राहत भएको छ भने कतै घात भएको छ । नल र धान छुट्याउनका लागि तयारी हालतमा राखिएको धानका बालाहरू भारी पानीका कारण नलसँगै कुहिन थालेको छ । धानको बोट काटेर बालाबाट गेडाहरू भित्र्याउन ठिक्क पारेको समयमा पानी पर्दा समस्या भएको हो । अर्कोतिर मकै भित्र्याएर गहुँ , तोरी र तरकारी बालीलाई भने फाइला भएको छ । आकाशे पानीको भरमा लगाएको हिउँदेबालीमा पानी पर्दा राहत भएको नलगाड नगरपालिका ८ का वीरबहादुर खत्रीले बताए । पाखो बालीहरू आकाशे पानीकै भरमा लगाइन्छ ।
चार महिनापछि बेसीसहर–चामे सडक पूर्ण रूपमा सञ्चालन काठमाडाैं । गत १ असारको बाढीले अवरुद्ध बेसीसहर–चामे सडक चार महिनापछि पूर्ण रूपमा सञ्चालनमा आएको छ । मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले आइतबारबाट अवरुद्ध सडक चार महिनापछि सञ्चालनमा आएको हो। बेसिशहरदेखि चामे हुँदै माथिल्लो मनाङको खाङसारसम्म सवारी पुग्ने भएपछि बेसीसहरका व्यापारीसमेत सामान पठाउन सहज भएको भन्दै उत्साहित बनेका छन् । सडक अवरुद्ध हुँदा मनाङ जान तथा आउन हेलिकोप्टरको भर पर्नुपरेको थियो । यसअघि चामे गाउँपालिका र मनाङ ङिस्याङ गाउँपालिका जोड्ने भ्राताङ भिरको सडक मर्मतपछि माथिल्लो मनाङको सडक पनि सञ्चालनमा आएको थियो । बेसीसहर–चामे सडकखण्डको मनाङकै तलेखुदेखि भ्राताङबीचको सडकखण्ड मर्मत भएपछि आइतबारबाट पूर्ण रूपमा सञ्चालननमा आएको हो । बाढीपहिरोले सडक तथा पुलमा क्षति पुर्‍याएपछि लामो समयसम्म मनाङ बाहिरी जिल्लासँग सडकसम्पर्क विच्छेद हुन पुगेको थियो । मनसुनको सुरुवातमै आएको बाढीपहिरोले मनाङमा भौतिक संरचनामा ठूलो क्षति पुर्‍याएको थियो । ६५ किलोमिटरको बेसीसहर–चामे सडकखण्ड लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलोमिटर पर्छ । सडक विभागले आ.व ०५१/०५२ मा बेसीसहर–चामे सडक निर्माण थालेको थियो । द्वन्द्वका कारण सडक निर्माणमा कठिनाइ भएपछि ०५७ मा तत्कालीन शाही नेपाली सेनालाई जिम्मा लगाएको थियो । ०५२ मा निर्माण सुरु भएको सडक नेपाली सेनाले १९ वर्ष लगाएर ट्र्याक खोलेको थियो ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवाल बर्खास्त काठमाडौं। सरकारले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवाललाई बर्खास्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सिलवालको बर्खास्तीको प्रक्रिया अघि बढाउने अनुमति दिएको छ । २३ असार २०७६ मा पहिलो पटक राखेप सदस्य सचिव नियुक्त भएका सिलवाल राष्ट्रिय खेलकुद ऐन, २०७७ का कारण एक वर्षमै पदमुक्त भएका थिए । उनलाई केपी शर्मा ओली नेतृत्वको सरकारले १२ साउन २०७७ मा पुनः राखेपको सदस्य सचिवमा नियुक्त गरेको थियो ।
नदीले बगाउँदा ३० वर्षीय गणेश आउजी बेपत्ता काठमाडौं। नदीले बगाउँदा कैलालीमा एक जना बेपत्ता भएका छन् । जिल्लाको खुटिया नदीमा आएको बाढीले बगाउँदा गोदावरी नगरपालिका–८ का ३० वर्षीय गणेश आउजी आज बेपत्ता भएको हुन् । खुटीया पुलदेखि एक किलोमिटर उत्तरतर्फ खोलामा ढुङ्गा निकाल्ने क्रममा नदिले बगाउँदा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताएका छन् । बेपत्ता आउजीको खोजीका लागि अहिले गोताखोरसहितको टोली घटनास्थलमा गएको बताइएको छ ।
भोलि सार्वजनिक बिदा काठमाडौं। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भोलि मंगलबार सार्वजनिक बिदा दिएको छ । बैठकले मुस्लिम समुदायलाई भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको हो । मुस्लिम समुदायले मंगलबार मोहम्मद जयन्ती मनाउँदै छन् । सोही कारण सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसिप २०२१’ मा भिड्दै हिमचितुवा घिमिरे काठमाडाै। अन्तरराष्ट्रिय बक्सर खेलाडी अविरल घिमिरेले ‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसिप २०२१’मा भिड्ने भएका छन्। जापानको नायोगा शहरस्थित ‘नायोगा कङ्ग्रेस सेन्टर इभेन्ट हल’मा आइतबार दिउँसो आयोजना हुने ४९ औँ सस्करणको सो अन्तरराष्ट्रिय प्रतियोगितामा उनीसँग जापानका व्यवसायिक किक बक्सर फुजीमुराले रिङ्मा उत्रदैछन्। फुजीमुरा पनि के वान के बक्सिङ् प्रतिष्पर्धामा भिडन्त गरिसकेका अनुभवी खेलाडी हुन्। विश्वका चर्चित बक्सरको मात्र सो प्रतियोगितामा सहभागिता रहने बताइएको छ। शनिबार सामाजिक सञ्जालमा आयोजक सस्था सिमुरा डोजोले प्रतियोगितामा बक्सरद्वय घिमिरे र फुजीमुरा बीचमा हुने भिडन्तको अन्तिम तयारी पुरा भएको जनाएको छ। अन्तरराष्ट्रिय बक्सिङ खेलाडी एवं प्रशिक्षक देवकुमार घिमिरेका सुपुत्र अविरलले कोरोना कहरमा बीचमा सो प्रतियागिताका लागि पिताकै विशेष प्रशिक्षणमा पूरा गरेकाे जनाइएको छ। प्रशिक्षक देवकुमारले शनिबार सामाजिक सञ्जाल मार्फत् प्रतियोगिताको आवश्यक अन्तिम तयारी सम्पन्न भएको जनाए। प्रशिक्षक देवले पनि सामाजिक सञ्जालमा भनेका छन्, “युवा बक्सर अविरलले पछिल्लो समय बक्सिङ्मा नयाँ उचाइ हासिल गर्नुभएको छ। अविरलले ‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसिप २०२१’ चुम्नेमा म विश्वस्त छु । यो प्रतियोगितमा छनौट हुुनु आफैमा प्रतिष्ठाको विषय हो । प्रतियोगिता हेर्न म सबैलाई आग्रह गर्दछु। ” सो प्रतियोगितामा विश्वका चर्चित बक्सरलाई मात्र रिङमा उतारिने गरिन्छ। ‘हिमालयन चितुवा उपाधि’ले विश्व प्रसिद्ध अविरलले गत चैतमा जापानको टोकियो शहरमा सम्पन्न ‘के वान फेस्टिवल २०२१’ प्रतियोगिताको उपाधि चुम्ने कम उमेरका पहिलो नेपाली बक्सर बन्ने सौभाग्य प्राप्त गरेका थिए। उनले जापानी व्यवसायिक बक्सर खोतेचुलाई पहिलो राउण्डमा नै ढालेर नयाँ इतिहास कायम गरेका थिए। यसैगरी घिमिरेले गत वर्ष नै ‘प्रोफेसनल किक बक्सिङ हिट ४८’ मा जापानी खेलाडी योसिदा यइजी माथि सहज जित हात पारेका थिए। सानो उमेरमा उँचो सफलता सानो उमेरमा बक्सिङमा ऐतिहासिक सफलता हात पार्दै आएका अविरलले प्रतिष्ठित ‘के वन किक बक्सिङ अन्तरराष्ट्रिय प्रतियोगिता २०२०’ मा दोस्रो स्थान प्राप्त गर्न सफल भएका थिए। नेपालकोतर्फबाट कम उमेरमा सो प्रतियोगितामा भाग लिने पहिलो ‘बक्सर’ समेत भएका थिए। एक्काइस वर्षीय उनले बाज्रिलियन खेलाडी फिलिपसँग सो प्रतियोगितामा प्राविधिक कारणले मात्र पराजित हुनुपरेको थियो। चन्द्रागिरि नगरपालिका–१२ गुर्जुधारा निवासी उनीहरु विगत पाँच वर्षदेखि जापानको नागोया शहरमा बस्दै आएका छन्। पछिल्लो समय उनले कम उमेरमा अन्तरराष्ट्रिय किक बक्सिङ प्रतियोगितामा खेल्ने पहिलो नेपाली युवा बन्ने सौभाग्यसमेत पाएका छन्। ‘हिट ४९ प्रोफेसनल हिट बक्सिङ च्याम्पियनसिप २०२१’ लाई जापानसहित अन्तरराष्ट्रिय खेल क्षेत्रले उच्च महत्वका साथ हेर्ने बताइएको छ। वेष्टर्न युनाइटेड क्लबका अध्यक्ष रामनारायण घिमिरेले दिएको जानकारीअनुसार अबिरलले खेलेका अधिकांश व्यावसायिक किक बक्सिङमा भिडन्तमा सर्वप्रथम भई विश्व कीर्तिमान कायम गर्न सफल भएका छन्। उनले गत वर्ष नै टोकियोको नागोयामा सम्पन्न हिट ४६ किक बक्सिङको टाइटल जित्न सफल भएका थिए। रोमाञ्जकारी सो भिडन्तमा उनले जापानी च्याम्पियन मुकेवासलाई पहिलो राउण्डमै मुक्का प्रहार गरी मैदानमा ढालेर टाइटल उपाधि जित्ने कान्छा बक्सर बनेका थिए। उनले हालसम्म हिट –२४ किक बक्सिङ खेलको मिडिल वेटको दुई पटक च्याम्पियन तथा हालसम्म विभिन्न खेलमा अपराजित यात्रा गर्ने क्रममा नौ खेलमा नकआउट गर्दै विजय हासिल गरिसकेका र तीमध्ये नौ अन्तरराष्ट्रिय खेलका आठ खेलमा सर्वप्रथम भई विश्वकीर्तिमान कायम गर्न सफल हुनुभएको गुर्जुराधास्थित अन्तरराष्ट्रियस्तरको भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टरका अध्यक्ष राजेश घिमिरे जानकारी दिए। अविरलले नियमितरुपमा सिमुरा डोजोमा प्रशिक्षण लिँदै आउनुभएको उनले जानकारी दिए। “अविरलसँग अद्भूत, अदम्य साहस, जोश र लगनशीलता छ। उ राष्ट्रिय प्रतिभा हो। सम्मान गरौँ। ” उनले भने। रासस
सवारी दुर्घटनामा दुईको मृत्यु वाग्मती । मकवानपुरको हेटाैँडा–१५ स्थित रातेमाटेमा एक यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा दुुईजनाको मृत्यु भएको छ। गए राति नारायणगढवाट काँकडभिटा जाँदै गरेको ना६ख ७६९ नंंको यात्रुवाहक बसले विपरीत दिशाबाट आउँदै गरेको ना.५८ प ९९७३ नंको मोटर साइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। मृत्यु हुनेमा हेटाैँडा– १५ का १८ वर्षीय प्रकाश दियाली र हेटौँडा–३ का २२ वर्षीय सुशान्त दियाली रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिएको छ। बसको ठक्करबाट घाइते भएका दुवै जनालाई उपचारका लागि हेटौँडा अस्पताल लगिएकामा त्यहाँका चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। ठक्कर दिने बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा राखेको बताइएको छ।
झिझिया नाच हेर्न गएका किशोरको शव इनारमा भेटियो सिरहा । सिरहामा इनारमा डुबेको अवस्थामा एक किशोरको शव फेला परेको छ। गोलबजार नपागरपालिका–८ भाइजिटोलका भुनेश्वर महतोको छोरा १७ वर्षीय सत्रुधन महतोको नरहा गाउँपालिका–३ नयाँ चौक चोहर्वाको इनारमा डुबिरहेको अवस्थामा शनिबार विहान फेला परेका हुन्। दसैँको अवसरमा आयोजित झिझिया नाच हेर्न गएका महतो मृत अबस्थामा भेटिएका हुन्। मेलामा राति झगडा भएको बेलामा भाग्ने क्रममा इनारमा झरेको हुन सक्ने स्थानीयले अनुमान गरेका छन्। मेलामा राति दुई युवा समूहबीच विवाद भएको स्थानीय राम कृपाल यादवले जानकारी दिए। उनी गाउँकै जनता नमुना माध्यमिक विद्यालयका कक्षा ११ मा अध्ययरत रहेको बताइएको छ। शव इनारबाट निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे पनि अनुसन्धान भइरहेको जनाएको छ।
नेपाल पहिलो पटक साफ च्याम्पियनसिप फाइनलमा काठमाडौं । अञ्जन विष्टको बराबरी गोलसँगै नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ । बुधबार भएको समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग १-१ गोलको बराबरी खेल्दै नेपालले प्रतियोगिताको १३औं संस्करणमा इतिहास रचेको हो । खेलको आठौं मिनेटमा सुमन रेजाको गोलसँगै पछाडी परेको नेपालले १० जनामा सीमित भएको बंगलादेशविरुद्ध ८८औं मिनेटमा बराबरी गोल फर्काउँदै फाइनल यात्रा तय गर्‍यो । नेपालले गोलका लागि बनाएको क्लियर चान्समा पेनाल्टी एरिया बाहिर आएर फाउल गरेसँगै बंगलादेशका गोलकिपर रहमान जिकोले रातो कार्ड पाएका थिए । त्यससँगै १० जनामा सीमित भएको बंगलादेशका खेलाडीले १८ यार्ड बक्समा अञ्जनमाथि फाउल गरेसँगै नेपालले पेनाल्टी पाएको थियो । माल्दिभ्समा जारी प्रतियोगिताको फाइनल पुग्नका लागि कम्तिमा बराबरी नतिजा निकाल्नु पर्ने बाध्यतामा रहेको नेपालले आठौं मिनेटमा गोल खाएको थियो । मालेस्थित नेसनल फुटबल स्टेडियममा भएको खेलको आठौं मिनेटमा नेपाली डिफेन्डर गौतम श्रेष्ठले विपक्षी खेलाडीमाथि खराब ट्याकले गरेसँगै बंगलादेशले फ्रि(किक पाएको थियो । सोही फ्रि-किकमा कप्तान जमल भुयाको पासमा सुमन रेजाले हेडरमार्फत गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएका हुन् । फ्रि-किक नेपाली खेलाडीको बारमा लागेर ६ यार्ड बक्सभित्र डिफ्लेक्ट भएको थियो । नेपाली डिफेन्डर दिनेश राजवंशीको कमजोरीको फाइदा उठाउँदै सुमन रेजाले गोल गरेका थिए । खेलको दोस्रो मिनेटमै गोलका लागि सुन्दर मौका बनाएको नेपालविरुद्ध बंगलादेशका डिफेन्डर टोपु बर्मानले खराब फाउल गर्दै असफल बनाइदिएका थिए । लास्ट म्यान डिफेन्डर रहेका बर्मानले नेपाली फरवार्ड नवयुग श्रेष्ठलाई पेनाल्टी एरिया ठीक अगाडि तानेर लडाउँदै नेपाललाई गोल गर्न रोकेका थिए । सोही फाउलका कारण उनले दोस्रो मिनेटमै पहेँलो कार्डको सामना गर्नुपरेको थियो । खेलको सुरुआतदेखि नै गोलका लागि प्रयासरत नेपालले केही मौका सृजना गरे पनि सदुपयोग गर्न सकेको छैन । सुरुआतदेखि नै मिसपास र बल पोसेसनमा संघर्ष गरिरहेको नेपालले पहिलो हाफको अन्त्यतिर सम्हालिने प्रयास गरेको थियो । पहिलो हाफको इन्जुरी समयमा रोहित चन्दको क्रसमा आयुष घलानको सुन्दर हेडर फ्रेममा नपर्दा नेपाल बराबरी गर्न दुर्भाग्यशाली रह्यो । त्यसअघि रोहित चन्दले पनि सुन्दर मौका गुमाएका थिए । प्रतियोगिता १३औं संस्करण सम्म आइपुग्दा नेपाल भने एक पटक पनि फाइनल पुग्न सकेको थिएन । प्रतियोगिताको पहिलो खेलमा आयोजक तथा साविक विजेता माल्दिभ्सलाई १-० ले पराजित गरेको नेपालले दोस्रो खेलमा श्रीलंकालाई ३-२ गोलको नतिजामा हराएको थियो । त्यस्तै, तेस्रो खेममा भारतसँग १-० ले पराजित नेपालले बंगलादेशविरुद्ध महत्त्वपूर्ण १ अंक हासिल गर्दै शीर्ष दुईमा स्थान बनाएको हो । राउन्ड रोबिन लिग पद्धतिमा जारी प्रतियोगिताको पहिलो चरणबाट शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउने छन् । आजै हुने माल्दिभ्स र भारतबीचको विजेताले फाइनलमा नेपालसँग खेल्ने छ ।
राष्ट्रपति भण्डारीद्वारा विभिन्न शक्तिपीठको दर्शन र पूजा अर्चना काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी बडादशैँ २०७८ को महाष्टमीका अवसरमा आज काठमाडौँस्थित विभिन्न शक्तिपीठमा दर्शन तथा पूजा अर्चना गरेकी छन् । यस क्रममा राष्ट्रपति भण्डारीले मन्दिरमा उपस्थित पूजारी र सर्वसाधारणलाई दशैँको शुभकामना दिनाका साथै उनीहरुका सुझाव ग्रहण गरेकी हुन् । महाअष्टमी पर्व विशेष रूपमा शक्ति स्वरुपा भगवतीको प्रार्थना गर्ने दिनका रूपमा लिइन्छ । राष्ट्रपति भण्डारीले अपरान्ह ४ः३० बजे नक्सालस्थित नक्साल भगवती मन्दिरमा पुगेर काठमाडौँस्थिति देवी मन्दिरको दर्शनारम्भ गरेकी थिइन् । सो अवसरमा मन्दिरमा उपस्थित पूजारी, उनीहरुका परिवार र सर्वसाधारणलाई राष्ट्रपति भण्डारीले विजयादशमी २०७८ का अवसरमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरिन् । उक्त मन्दिरका पूजारी खगेन्द्र निरौलाले राष्ट्रपतिलाई नवदुर्गाको प्रसाद र टीका लगाइदिँदै मुलुकको आर्थिक विकासका लागि देशका खनिज पदार्थको उत्खनन् गर्न तथा मुलुकभित्रको अपार स्रोत साधनको सही सदुपयोग गर्न सुझाव दिए । राष्ट्रपति भण्डारीलाई मन्दिरका मूल पूजारी निलिक महर्जनले मन्दिर परिसरस्थित ऐतिहासिक ढुंगेधाराको दुरावस्थाका बारेमा अवगत गराएका थिए । राष्ट्रपति भण्डारीले सदाझैँ मैतीदेवी, गुह्येश्वरी, कालिकास्थान, शोभा भगवतीलगायतका मन्दिरमा दर्शन गरेका थिए । राष्ट्रपति भण्डारीले आज बिहान काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ पलाञ्चोकस्थित भगवती मन्दिरमा पुगेर पूजाअर्चना गरिन् । धार्मिक मान्यतानुसार शक्तिका लागि भगवतीको आशीर्वाद लिने पर्व नवरात्रको आठौँ दिन पनि काठमाडौँ उपत्यकालगायत देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो लागेको छ । आश्विन शुक्ल पक्ष शक्तिस्वरुपा दुर्गा भवानीको विशेष आराधना गर्ने पर्वका रूपमा चिनिन्छ । वर्षमा चारवटा नवरात्र पर्ने भए पनि शरद ऋतुअन्तर्गत आश्विन शुक्ल पक्षमा पर्ने नवरात्र विशेष रूपमा मनाइन्छ । बडादसैँसमेत भनिने शारदीय नवरात्र देशभर भव्य रूपमा मनाइन्छ । देवीको पूजा, पाठ एवं दर्शन गर्न भक्तजन मन्दिर जाने गर्छन् । शक्तिपीठमा पनि पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरको विशेष महत्व रहेको विभिन्न पुराणमा उल्लेख गरिएको छ ।
पूर्वराजा ज्ञानेन्द्रको बक्तव्य सत्ताषड्यन्त्रको पूर्वसंकेत ? पूर्वराजा ज्ञानेन्द्रले बडादशैंको सन्दर्भ पारेर फुलपातीको दिनदिएको ‘राजनीतिक शुभकामना’को प्रतिक्रियाहरु आउने क्रम जारी छ । राष्ट्रियताको पक्षधर भनेर चिनाउने सबैधानिक राजतन्त्रवादी नागरिकहरु राजाको राजनीतिक शुभकामनाबाट हर्सित भएकाछन् । तर केही राजनीतिक पार्टीका नेताहरुले राजाको प्रतिक्रियाप्रति आक्रोश व्यक्त गरेका छन् । फरक फरक प्रतिक्रियाले गर्दा चाडपर्व पछाडि नेपालको राजनीतिमा नयाँ किसिमको आन्दोलनको बिजारोपण हुने लक्षण देखिएको छ । ज्ञानेन्द्रले आफूलाई देशको तत्कालीन परिस्थितिले बेग्लै जिम्मेवारी ग्रहण गर्न बाध्य तुल्याएको भन्दै प्रजातन्त्रविना राजसंस्था र राजसंस्थाविना प्रजातन्त्र टिक्न नसक्ने बिचार राख्नुले नेपालीलाई राजसंस्थासहितको प्रजातन्त्रको लागि एकजुट हुन आह्वान गरेको पाइन्छ । नेपालका लागि नेपाली पार्टीले हतार हतार पत्रकार सम्मेलन नै गरेर राजाको कदमको प्रशंसा गरेकोे छ । राजाले बोलेन भनेर आरोप लगाउनेहरुले अब आरोप लगाउन बन्द गर्नु पर्दछ भन्ने आह्वान गरेका छन् । उनीहरुले पर्वपछि राजाको चाहना अनुसारको अहिलेको राजनीतिको विरुद्धमा आन्दोलनमा अग्रसर हुन आह्वान गरेका छन् । उनीहरुलाई यसरी हिम्मत बढ्नुमा राजाको राजनीतिक अभिव्यक्ति सहितको शुभकामना संदेशले ठूलो काम गरेको छ । राजा ज्ञानेन्द्र शाहले राजसंस्थाविना प्रजातन्त्र टिक्न नसक्ने दावी गर्दै प्रजातन्त्रविनाको राजतन्त्र र राजतन्त्रविनाको प्रजातन्त्र नटिक्ने महसुस गरेको पाइएको छ ।दसैँको अवसरमा यस्तो शुभकामना दिनुले अब प्रजातान्त्रिक स्वभावको राजसंस्थाको आवश्यकता छ भन्नेकुरामा जोड दिएका हुन् भन्ने अनुमान लगाउन सकिन्छ । ज्ञानेन्द्रले आफूलाई देशको तत्कालीन परिस्थितिले बेग्लै जिम्मेवारी ग्रहण गर्न बाध्य तुल्याएको भन्दै प्रजातन्त्रविना राजसंस्था र राजसंस्थाविना प्रजातन्त्र टिक्न नसक्ने बिचार राख्नुले नेपालीलाई राजसंस्थासहितको प्रजातन्त्रको लागि एकजुट हुन आह्वान गरेको पाइन्छ । राजा ज्ञानेन्द्रले हाम्रो समाज सनातनिक आदर्श र पुख्र्यौली पौरखबाट फरक नभएकोले नेपालको पुराना परम्परा, रितिरिवाज, उत्सव, पर्व, संस्कृतिको संरक्षण र प्रबर्धनका लागि नेपालीहरुले अहिले देखिनै सचेत हुनुपर्ने धारणा राखेका छन् । उनको यो अभिव्यक्तिले अब नेपालको सत्ता परिवर्तनका लागि राजा सक्रिय भएको आशंका पैदा भएको छ । हुन त राजा ज्ञानेन्द्रले दशैंकै अवसर पारेर पारस शाहलाई यूवराजघोषणा गरेका थिए । दशैंको मूखमा व्यक्त गरिएको अभिव्यक्ति वाचा लिएको कदमको त्यति धेरै विरोध हुँदैन । यही अभिव्यक्ति दशैंको सन्दर्भभन्दा फरक समयमा दिएको भए आज यतिखेरसम्ममा धेरै राजनीतिक तरंग पैदा भइसक्ने थियो । तर सबै नागरिक दशैंको मुडमा छन् । त्यसैले यसका विरोधीहरुको स्वर पनि सशक्त हुने बेला छैन र समर्थनहरुको स्वरले पनि खासै मार्केट लिनेबाला देखिदैन । तर यो एउटा शुरुवात हो । राजाले एउटा राजनीतिक धारणा राखे । यसका बारेमा आउने प्रतिक्रियाहरुको आधारमा नयाँनयाँ रणनीतिहरु बनाउन खोजिएको हुन सक्दछ । राजा ज्ञानेन्द्रले व्यक्त गरेको विभिन्न विचारहरु मध्ये ‘कुनै पनि परिवर्तनको मर्म देशसंग अन्तर सम्बन्धित हुने गर्दछ र त्यसको प्रभाव जनताले आफ्ना्े दैनिक जीवनमा अनुभूत गर्न सक्नु पर्दछ’भन्ने कुराको व्याख्या गर्नुपर्दा यसले धेरै सन्देश दिन खोजेको पाइन्छ । उनले गणतन्त्र आएको वा राजतन्त्र फालेर आएको नयाँ सत्ताले जे ल्याउँछु भन्ने आशा नागरिकलाई देखाएको थियो त्यो पुरा गर्न नसकेको वाजुन मर्मका कारणले राजाले राजसत्ता सहज रुपमा छोडेर श्रीपेँच र राज दण्ड नासोका रुपमा छोडेर गएका थिए सो अनुसार सत्तामा गएका नेताहरुले काम गर्न सकेनन् भन्ने सन्देश दिएको छ । अझ उनले दुर्भाग्यवस शिक्षा र स्वास्थ्यको व्यापारीकरण भएको, विकास निर्माणका काममा भ्रष्टीकरण भएको कुरा बताएर सिंगो राजनीतिक पार्टी र उनीहरुको नेतृत्वमा रहेका नेताहरुलाई कोरम पुग्ने गरी चुनौती दिएको बुझिन्छ । प्रशासनिक गतिविधि पनि राजनीतिक पेशामा सिमित व्यक्तिले मात्र फाइदा पाउने गरेको कटु सत्य बताएर आमनागरिकहरु सबै किसिमका अवसरहरुबाट बञ्चित भएको सन्देश राजा ज्ञानेन्द्रले दिएका छन् । ज्ञानेन्द्र शाहले न्यायिक क्षेत्रमा उत्पन्न विचलनले सबैतिर निरासा छाएको बताएर न्यायलयको हिजो आजको गतिविधिमाथि समेत सचेत गराउने गरी विचार राखेका छन् । राजा ज्ञानेन्द्रको अभिव्यक्तिले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका सबैलाई सचेत गराउँदै उनीहरुको कमीकमजोरी औंल्याएर आमनागरिकको पक्षमा अभिव्यक्ति दिएको पाइन्छ । शाहले सार्वभौमिकता, राष्ट्रियता र राष्ट्रियएकता दुर्लभ गराउने, मौलिक धर्म संस्कृति संकटमापार्ने र राष्ट्रहितमा केन्द्रित रहनु पर्ने परराष्ट्रनीति असन्तुलित भई राष्ट्रिय सुरक्षा स्वार्थमा चुनौती थपिएकोले उनको मन पोलेको बताउनुले नेपालको परराष्ट्रनीति समेत दोबाटोमा अल्मलिएको र यसले राष्ट्रिय पहिचान नै गुम्दै गएकोमा चिन्ताव्यक्त गरिएको देखिन्छ । अहिले सडक र सोसल मिडियामा राष्ट्रियताको पक्षमाउठेका आवाजपनि राजाज्ञानेन्द्रको आवाजसंग मिल्दो जुल्दो छ । हुन त राष्ट्रियताको ठेकेदार राजसंस्था मात्र हुन सक्दैन । विश्वमा धेरै देशहरु यस्ता छन् जहाँका राजा देश छोडेर भागेपनि राष्ट्रियता बचाउन नागरिकहरु लागेका छन् । त्यसैले राष्ट्रियताको पहिचान भनेको राजामात्र होइनन । सिंगो देशका नागरिकले अपनाउने संस्कृतिहरुको समष्टिगतरुप नै त्यहाँको राष्ट्रियताको पहिचान हो । तर नेपालको सन्दर्भ अलि फरक छ । तपोभूमिको देश, मन्दिरै मन्दिरको देश भनेर चिनिएको नेपालमा राजसंस्था र नागरिकबीचको धार्मिक, सांस्कृतिक सम्बन्धहरु प्रगाढ थियो जसलाई मास्नेहरु आफै अलोकप्रिय हुँदै गएकाले कतै राजसंस्थाले नै नेपालको पुरानो संस्कृतिको पूर्नजागरण गरिदेला कि भन्ने आशा राजावादी नागरिकमा हुनु स्वभाविक नै हो । राजाको दशैंको अवसर पारेर आएको राजनीतिक शुभकामनाउनै राजावादी नागरिकहरुको त्यहीइच्छा पूरा गर्न आएको जस्तो अनुमान गरिएको छ । राजा ज्ञानेन्द्रले १४ बर्ष पछाडि हिम्मत गरेर शुभकामना सन्देशमा‘हरेक नेपालीलाई आफ्नो स्वतन्त्रविचार र आस्थाको अधिकार छ, हुन्छ र रहन्छ’भनेका छन् । उनले राजसंस्था बैचारिक आस्थाका आधारमा विभेद गर्दैन त्यो हाम्रो मान्यता पनि होइन, न त परम्परा नै हो भनेर राजसंस्थाले विगतदेखि विभिन्न राजनीतिक शक्तिलाई संरक्षण दिंदै आएको भनेर लाग्ने गरेको आरोपलाई हो भनेर स्वीकार गरेजस्तो भएको छ । माओवादीलाई वा अन्य कम्युनिष्टहरुलाई राजदरवार बाट संरक्षण थियो भन्ने कुराको पुष्टि यो शुभकामना सन्देशले गरेको छ । होलेरी काण्डमा सेना परिचालन हुन नदिएर माओवादीलाई राजसंस्थाले बचाएको थियो । त्यो किन गरिएको थियो भन्ने राजा ज्ञानेन्द्रको अभिव्यक्तिले घुमाउरो पाराले स्वीकार गरेको छ । माओवादीलाई वा अन्य कम्युनिष्टहरुलाई राजदरवार बाट संरक्षण थियो भन्ने कुराको पुष्टि यो शुभकामना सन्देशले गरेको छ । होलेरी काण्डमा सेना परिचालन हुन नदिएर माओवादीलाई राजसंस्थाले बचाएको थियो । त्यो किन गरिएको थियो भन्ने राजा ज्ञानेन्द्रको अभिव्यक्तिले घुमाउरो पाराले स्वीकार गरेको छ । अझ राजाज्ञानेन्द्रले शाहबंशीय राजपद्धतिको इतिहासले स्पष्ट गरेको छ भन्दै राष्ट्रिय आवश्यकता र जनचाहनाको परिधिबाहिरबाट कुनै पनिसमस्याको समाधान राजासंस्थाले खोजेको छैन र खोज्ने पनि छैन भन्नुले अबका दिनमा राजसंस्था पुर्नस्थापना भएपनि यो राजनीतिक बटमलाई भन्दा बाहिर जाने छैन भन्न खोजेका छन् । नेपाल अधिराज्यको संविधान २०४७ले संबैधानिक राजतन्त्रलाई स्वीकार गरेकै थियो । हिन्दु धर्मलाई पनि आत्मसाथ गरेको थियो । तर राजा ज्ञानेन्द्रले धारा १२७ प्रयोग गर्दा आफू सक्रिय हुनचाहे । त्यो उनको भुल थियो ।त्यस भन्दापछि नाति हृदयन्द्रलाई बेबी किङ्को रुपमा राख्न गिरिजाप्रसाद कोइरालाले गरेको प्रस्ताव नमान्नु पनि उनको भुल थियो भन्नेहरु अहिले पनि सशक्त राजनीतिमा छन् । राजा ज्ञानेन्द्रको ती कमजोरीहरु देख्नेहरुले अब कसरी प्रतिक्रिया दिने हुन हेर्न बाँकी छ । तर डा. बाबुरामभट्टराईले पाँचपूर्व प्रधानमन्त्रीलाई सुनाएको षडयन्त्रको बारेमा विस्तृतमा बुझेर बसेका र उनले राजाको यो प्रतिक्रयालाई कडा रुपमा टिप्पणी गरेको पाइनुले उनले भनेको त्यो ठूलो षडयन्त्रको शुरुवात यो सन्देशबाट भएको हो कि भन्ने अनुमान लगाउन सकिन्छ । राजा ज्ञानेन्द्रले देशभक्तिको भावना र राष्टप्रतिको भावना मानिसमा दभित भएपनि नामेट हुन सक्दैन । योग्य समयमा समुचित तरिकाबाट त्यो प्रस्फुटिक हुने गर्दछ भन्नुलाई पनि अहिलेको राजावादीहरुले सडक तताएका कुराहरुलाई समर्थन गरेर बोलेको जस्तो देखिएको छ । केही समययता जिम्मेवार एवं देशभक्त नागरिकहरुबाट राष्ट्रको चिन्ताले व्याकुल भई व्यक्त विचारहरुलाई राजसंस्थाले ध्यानपूर्वक सुनेको भनेर देशमा भइरहेको सबैखाले गतिविधिहरुबाट अपडेट रहेको जानकारी गराउन उनी पछि हटेका छैनन् । सबैभन्दा महत्वपूर्ण कुरा ‘प्रजातानित्रक, प्रगतिशील या अन्यजुनसुकै विचारप्रति आस्थावा नभएपनि राष्ट्रप्रतिको श्रद्धाले सबै नेपालीलाई एउटै मालामा उन्ने विश्वास हामीले लिएकाछौं’ भन्नुले सबैखाले विचारधारालाई आफूले नेतृत्व गर्न सक्ने सन्देश पनि दिएको पाइन्छ । राजा ज्ञानेन्द्रको विज्ञप्तिमा अतितका गौरबपूर्ण विधिव्यवस्थालाई सम्झेर विध्यमान कान मिल्दा स्थितिलाई सुधार्ने सकारात्मक र देश सुहाउँदो राजनीति राज्यव्यवस्थाका सबै क्रियाशिल शक्तिहरुबाट सही सोच राख्नु पर्ने र त्यो नै देश र जनाताको हितमा उपयुक्त अनुभूतिहुने भन्नुले साच्चिकै राजसंस्था अब तयारीका साथ सत्ता परिवर्तन गर्ने तर अबको परिवर्तन अहिले सत्तामा बस्नेहरुसंगसंगै मिलेर गर्ने भन्ने देखिएको छ । यसको लागि नेपाल अधिराज्यको संविधान २०४७ लाई पुर्नस्थापना गर्ने रणनीतिमै राजसंस्था लागेको प्रष्ट हुन्छ । विभिन्न किसिमले भ्रष्टचारीहरुलाई कारवाही गर्न सक्ने गरी अघिबढ्ने हो या एकपटक सबैलाई माफी दिनेगरी सबै मिलेर देश विकासको अभियानमा संगसंगै अघि बढ्नेहरु अगामी दिनका अभिव्यक्तिहरुबाट थप प्रष्ट हुने नै छ । तर अहिलेको यो अभिव्यक्ति भनेको राजापनि राजनीतिमा सक्रिय हुन चाहना राखेको देखिन्छ । केही नागरिकले राजाले धार्मिक र सामाजिक गतिविधिहरु धेरै गरिसके अब राजनीतिक गतिविधिमा समेत भाग लिनु पर्दछ भन्ने गरेकाले त्यही कुरालाई आत्मसाथ गर्दै राजनीतिक विचार दिएको हुन सक्दछ । कोरोना भाइरसको महामारीका कारण यस वर्ष राजा ज्ञानेन्द्र शाहले महाअष्टमीका दिन विभिन्न शक्तिपीठहरूको दर्शन गर्ने कार्यक्रम र दशमीमा सर्वसाधरणलाई टीका लगाउने कार्यक्रम नहुने उनको सचिवालयले यस अघि नै बताएसकेको छ । शक्तिपीठहरुमा नगएपनि राजावादी नेपालीहरुका लागि राजाको शुभकामना एउटा अमृत बुटीकै जस्तो उपयोगी भएको सोसल मिडियाका प्रतिक्रियाहरु हेर्दा देखिन्छ । सबैभन्दा महत्वपूर्ण कुरा ‘प्रजातानित्रक, प्रगतिशील या अन्यजुनसुकै विचारप्रति आस्थावा नभएपनि राष्ट्रप्रतिको श्रद्धाले सबै नेपालीलाई एउटै मालामा उन्ने विश्वास हामीले लिएकाछौं’ भन्नुले सबैखाले विचारधारालाई आफूले नेतृत्व गर्न सक्ने सन्देश पनि दिएको पाइन्छ । राजाको यस अभिव्यक्तिले राजनेताहरु,न्यायलय, प्रशासन, संसद सबैलाई सच्चिन, जनमुखी हुन आग्रह समेत गरेको छ । राजनीतिक पार्टी र नेताहरु सच्चिएर अघिबढेर गणतन्त्रलाई जनमूखी बनाउने कि राजसंस्थालाई पुर्नस्थापित गरेर मिलिजुली जाने अब भूमिका निर्वाह गर्ने पालो राजनीतिक दल र नेताहरुमा आएको छ ।
माधव नेपाल भेटेर फ्रान्सेली राजदूतले भने: दुई देशको सम्बन्धलाई थप सुमधुर बनाउन प्रयत्न गर्छु काठमाडौं । नेपालका लागि फ्रान्सका नवनियुक्त राजदूत गिल्स बोर्बाओले नेपाल र फ्रान्स बीचको सम्बन्धलाई थप बलियो र सुमधुर बनाउन प्रयत्न गर्ने बताएका छन् । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं नेपाल-फ्रान्स पार्लियामेन्टरी कमिटीका संयोजक माधवकुमार नेपालसॅगको भेटमा राजदूत बोर्बाओले नेपाल आउन पाउॅदा खुसी लागेको बताउॅदै आफ्नो कार्यकालमा नेपाल र फ्रान्स बीचको सम्बन्धलाई उचाइँमा पुर्‍याउने बताएका हुन् । अध्यक्ष नेपालले नवनियुक्त राजदूत बोर्बाओलाई स्वागत गर्दै कार्यकाल सफलताको शुभकामना दिए । भेटका अवसरमा नेपाल-फ्रान्स सम्बन्ध, सहयोग र सहकार्यको इतिहास, वर्तमान र भविष्यका संभावनाका विषयमा कुराकानी भएको समाजवादी पार्टीले जनाएको छ ।
टुँडिखेलमा नेपाली सेनाको फूलपाती बढाइँ (फोटोफिचर) काठमाडौं । नेपाली सेनाले फूलपातीको अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ प्रदर्शन गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले फूलपाती बढाइँ अवलोकन गरेकी छन्। राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुन् । समारोहमा सैनिक हेलिकप्टरबाट पुष्पवृष्टि गरिनुुका साथै राइफल र तोपबाट लहरे एवं एकठ्ठा बढाइँ गरियो । त्यस अवसरमा इज्जत अर्पण कवाज, विभिन्न गुल्मद्वारा बढाइँ, मार्चपाससहितको बढाइँ र सैनिक ब्याण्डबाट मालश्री र दुर्गा स्त्रोत्रका धुन प्रस्तुत भयो । कोभिड–१९ को सङ्क्रमण जोखिमका कारण विगत वर्षदेखि नै फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिन सानो र छरितो कार्यक्रम गरिदै आएको छ । उपराष्ट्रपति नन्दबहादुर पुुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर राणा, सभामुुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना समारोहमा सहभागी भए । मन्त्रिगण, सवैधानिक निकायका प्रमुुख, नेपाल सरकारका उच्च पदस्थ अधिकृत, सुुरक्षा निकायका प्रमुुख, समाजका विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित महानुुभाव समारोहमा उपस्थित थिए । बढाइँ समारोहमा आएका विशिष्ठ पाहुुनालाई बलाध्यक्षरथी बालकृष्ण कार्कीले स्वागत अभिवादन गरे । फूलपाति बढाइँको नेपाल टेलिभिजनलगायतका विद्युुतीय सञ्चार माध्यमले प्रत्यक्ष प्रसारण गरेको थिए । टुुँडिखेल वरपर सर्वसाधारणले चाखपूर्वक बढाइँ हेरिरहेका देखिन्थ्यो ।
चौविस घण्टाभित्र सडकका खाल्डाखुल्डी पुर्न जिल्ला प्रमुख अधिकारीको निर्देशन काठमाडौं। भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जिल्लाका मुख्य र सहायक सडकका खाल्डाखुल्डी २४ घण्टाभित्र पुर्न सरोकारवाला निकायलाई निर्देशन दिएका छन् । नेपालीहरुको महान चाड दसैँ तिहारमा सडकका खाल्डाखुल्डीले यात्रुलाई समस्या हुने, सडक जाम हुने र दुर्घटना हुन सक्ने भन्दै खाल्डाखुल्डी पुर्न निर्देशन दिएका छन्। जिल्ला प्रशासन कार्यालयमा जिल्लाका सडकमा कार्यरत विभिन्न सडक आयोजना प्रमुख एवं प्रतिनिधि, जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, जिल्लाका चार वटै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवं इन्जिनियर, चारवटै सुरक्षा निकायका प्रमुखसँगको छलफलमा सार्वजनिक सरोकारका विषयमा विभिन्न निर्णयसमेत गरिएको छ। छलफलमा नगरकोट सडक तत्काल मर्मत गरि निर्माण सम्पन्न गर्न र मध्यपुरथिमिको निकोसेरा सडक आज दिनभरमा खाल्डाखुल्डी पुरेर सहजरुपमा यातायातका साधन सञ्चालन गर्न सक्ने बनाउन प्रजिअ शर्माले निर्देशन दिएका हुन्।
जर्मन चान्सलर एंगेला मर्केलले इजरायल पुगेर इरानका विषयमा अहम घोषणा गरिन् काठमाडौं। १६ वर्षसम्म सत्तामा रहेपछि जर्मन चान्सलर एंगेला मर्केलले यसै वर्ष आफ्नो पद छोड्दैछिन् । तर, पद छोड्नुभन्दा पहिले उनी चान्सलरको रुपमा अन्तिम इजरायल भ्रमणमा छिन् । आइतबार उनले इजरायलका प्रधानमन्त्री नफ्ताली बेनेटसँग भेटघाट गरिन् । भेटवार्तापछि साझा पत्रकार सम्मेलनमा जर्मन चान्सलर मर्केलले इरानसँग आणविक सम्झौताका विषयमा हुने वार्ता एकदमै निर्णायक चरणमा भएको बताएकी छिन् । उनले इरानसँग भएको परमाणु सम्झौतालाई फेरि अस्तित्वमा ल्याउने विषयमा जर्मनीको प्रतिबद्धतामा पनि जोड दिइन् । उनले भनिन् ‘जसरी आणविक सम्झौताको लागि दिन बितिरहेको छ त्यसरी नै इरानले हरेक दिन आफ्नो युरेनियम संवद्र्धनलाई बढाइरहेको छ ।’ मर्केलले इरानलाई भियना सम्झौता अनुसार फेरि वार्तामा ल्याउनको लागि विश्व शक्तिहरुको सहभागिताको आह्वान गरिन् । उनले भनिन् ‘म रुस र चीनको लागि एक ठूलो जिम्मेवारीको रुपमा देखिरहेकी छु ।’ आफ्नो सम्बोधनमा उनले हरेक जर्मन सरकारको लागि इजरायलको सुरक्षा सर्वोच्च प्राथमिकता हुने बताइन् । अमेरिकाको ट्रम्प प्रशासनले एकतर्फी निर्णय लिँदै इरानसँग परमाणु सम्झौता तोडेको थियो । यसको प्रतिक्रियामा इरानले पनि स्वयंलाई परमाणु सम्झौताबाट अलग गरेको थियो । सत्तामा बाइडेन आएपछि अमेरिका र युरोपेली देश इरानलाई फेरि यो सम्झौताअन्तर्गत ल्याउने प्रयासमा लागेका छन् । मर्केलले भनिन् ‘मैले कहिल्यै पनि जेसीपीओएलाई आदर्श मानिन, तर कुनै सम्झौता नहुनुभन्दा यो राम्रो हो ।’ इजरायलका प्रधानमन्त्री नफ्ताली बेनेटले पनि इरानको परमाणु कार्यक्रमलाई विश्वको लागि खतरा बताउँदै इजरायल इरानलाई रोक्नको लागि जे परिआउँछ गर्ने बताए । यसअघि एक विशेष क्याबिनेट बैठकको क्रममा बेनेटले भने ‘हाम्रो लागि यो रणनीतिक समस्या नभइ अस्तित्वको समस्या हो ।’ बेनेटका अनुसार विगत ३ वर्षमा इरानले आफ्नो परमाणु कार्यक्रम संवद्र्धनलाई तीब्र रुपले बढाएको छ । मर्केल र बेनेटले भविष्यको प्यालेस्टाइनका विषयमा भने सार्वजनिक रुपले असहमति जनाए । मर्केलले प्यालेस्टाइनको मुद्दामा भनिन् ‘भलै आज यो विन्दुका दुई राज्य समाधानको कुरा निराशाजनक लाग्छ तर मलाई लाग्छ कि यसलाई वार्ताका क्रममा बेवास्ता गरिनु हुँदैन । यसलाई दबाइनु हुँदैन । साथै यो पनि सुनिश्चित गरिनुपर्छ कि प्यालेस्टाइनी सुरक्षित रहन सकुन् ।’ उनले प्यालेस्टाइनीले जुन कब्जा गरिएका क्षेत्रको माग गरिरहेका छन् त्यहाँ इजरायली बन्दोबस्त निर्माण व्यर्थ भएको बताइन् ।
नक्कली टिकटको किनबेच गर्ने दुई जना पक्राउ काठमाडौं। बसपार्कमा बसको नक्कली टिकटको किनबेच हुने गरेको खुलासा भएको छ । टिकटका लागि पुग्ने यात्रुलाई नक्कली टिकट दिएर पैसा असुलेको आरोपमा दैलेख आठविस नगरपालिका(४ का प्रकाश शाही र वीरेन्द्रनगर(६ शनिहललाइनका सञ्जु सुनार पक्राउ परेका हुन् । प्रहरीले उनीहरुको साथबाट एक ठेली नक्कली टिकटसमेत बरामद गरेको छ । पक्राउ परेका व्यक्तिले दुई टिकट काटिसकेको प्रहरीले फेला पारेको छ ।देउती नागरिक यातायात प्रालि लोगो र छाप बनाएर नक्कली टिकट किनबेच हुने गरेको फेला परेको हो । दुई टिकटमा सुर्खेतदेखि कालिकोट मान्मसम्म १ हजार ८ सय ५० र सुर्खेत(जुम्ला २ हजार रुपैयाँ भाडा उल्लेख छ ।
आत्महत्या गरेको डोरी करोडौँमा बिक्री हुने अन्धविश्वासका कारण तीन जना पुगे जेलको बास काठमाडौं । अन्धविश्वासले अपराध मात्रै चिताएनन्, अन्नतः तीन जनालाई जेलकै बास बनायो । कोही कसैले आत्महत्या गरेको डोरी भेटिए र वा त्यसलाई बेच्न सकिए करोडौमा विक्री हुने अन्धविश्वासका कारण एक महिलाको हत्या भयो जुन हत्याले तीन जनालाई जेलको बास बनाएको छ । उनीहरुमा आत्महत्या गर्ने बेलामा घाटीमा पासो लगाउने डोरी हत्तपत्त नभेटिने र भेटिएपनि त्यो ऐनामा देखाउदा नदेखिने भएकाले पनि करोडौँ रुपैयाँ आउने विश्वास भएपछि डोरी बेचेरै पैसा कमाउन सकिने संभावना देखिएको अन्धविश्वासमा पर्दा ललितपुरमा एक महिलाको हत्या भयो । महानगरीय अपराध महाशाखाले भदौ २५ गते बिहान भएको उक्त हत्याकाण्डमा संलग्न तीनजनालाई असोज २१ र २२ गते पक्राउ गर्यो । पक्राउपछि उनीहरुले घाँटीमा पासो लगाएर ती महिलाको हत्या गरेको र त्यही डोरी बेच्न ग्राहक पनि खोजिरहेका थिए । ललितपुरको सुनाकोठीमा कृषि र ज्याला मजदुरी गरेर एक्लै बस्दै आएकी कमला तामाङको अन्धविश्वासकै कारण अनाहकमा ज्यान गयो । भदौ २५ गते बिहान ललितपुर महानगरपालिका–२७ सुनाकोठी बस्दै आएकी नुवाकोटको बेलकोट गढी नगरपालिका–९ स्थायी घर भएकी ४५ वर्षीया कमलाको हत्या घाँटीमा पासो लगाएर गरिएको थियो । प्रकरणमा संलग्न तीन अभियुक्तलाई प्रहरीले सार्वजनिक छ । सो हत्यामा संलग्न सुमन मगर ललितपुरबाटै पक्राउ परे । उनीसँगै हत्यामा संलग्न सविन प्रजा र प्रविना प्रजालाई प्रहरीले मकवानपुरको मनहरीबाट पक्राउ गर्यो । प्रहरीका अनुसार उनीहरु तीनैजनाले अन्धविश्वासमा परेर कमलाको हत्या गर्ने योजना मात्रै बनाएनन, हत्या नै गरिदिए । हत्यामा संलग्नमध्ये सविनले मान्छे मर्न वा मार्न प्रयोग भएको डोरी, राम–लक्ष्मण र हनुमानको तस्विर अंकित पुरानो सिक्का, दाहिने शंख, चट्याङ परेको ढुंगा लगायत करोडौँ रुपैयाँमा विक्री हुने कुरा सुनेपछि उक्त हत्या योजना बनाएका थिए । चापागाउँमा बस्दै आएका सविनले उक्त कुरा साथी सुमन मगरलाई सुनाएपछि कमलाको हत्या योजना बनेको थियो । समुन मगर कमलाबीच पुरानो चिनजान भएको र सोही चिनजानको आधारमा सविन, सुमन र प्रविना बसेर हत्या योजना बनाएका थिए । ‘मृतक कमला र सुमन मगरबीच पुरानो परिचय रहेछ मृतकको टहरामा उनी आउने जाने गर्ने गरेको भेटियो केही दिन मादक पदार्थ र खानपिन पनि सँगै गर्ने गरेको आधारमा उनीहरुबीच विश्वास बढ्दै गएपछि हत्या गर्न सहज भएको देखियो’, महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी चन्द्र कुवेर खापुङले बताए । उनका अनुसार हत्यामा तीनैजनाको प्रत्यक्ष संलग्नता थियो । सुमनले कमलाको दुवै हात र गोडा उनकै सलले बाँधी आफूसँगै गएका सविन प्रजालाई डोरी घाँटीमा हाली कस्न लगाई हत्या गरेका थिए । ‘कमलाको मृत्यु भएको थाहा भएपछि कानको गहना र मोबाइल लिई सविन हिडेका थिए’, एसएसपी खापुङले भने । कमलाको शव कोठैमा छाडेपछि उनीहरुले उनको मोबाइल फोन लगेर सिम बाटैमा फ्याकेका थिए । प्रहरीका अनुसार उनीहरुले कमलालाई घाटीमा पासो लगान प्रयोग गरिएको डोरीलाई धुप बत्तीसमेत प्रयोग गरी पूजा गरेका थिए । ‘ऐनामा हेर्दा डोरी नै देखिएपछि काम नलाग्ने भनी कुलोमा फ्याँकेर बगाइदिएका रहेछन्। त्यसपछि मोबाइल र गहनासमेत नक्कली भएको भन्दै कुलोमा बगाइदिएका थिए’, एसएसपी खापुङले भने । महाशाखाले अभियुक्त तीन जनालाई थप अनुसन्धान र कारवाहीका लागि महानगरीय प्रहरी वृत्त चापागाउँ पठाएको छ । ।
वालिङमा जीप दुर्घटनाः २ को मृत्यु, १७ घाइते काठमाडौं । वालिङ नगरपालिकामा ग १ ज ४९१८ नम्बरको जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १७ घाइते भएका छन्। दुर्घटनामा परी मृत्यु हुनेमा गल्याङ नगरपालिका १० का ७७ वर्षीय दलबहादुर पल्ली र ३२ वर्षीया गंगा पल्ली हुन् । प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीका अनुसार घाइते दुईको वालिङको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको हुन् । घाइते मध्ये १४ जना यात्रु र जीप चालकको अवस्था सामान्य रहेको अधिकारीले जानकारी दिए। उकालोमा ब्रेक फेल भएर जीप झन्डै एक सय मिटर तल झरेको प्रहरीले जनाएको छ । वालिङ बजारबाट गल्याङको पकवादीका लागि छुटेको ग १ ज ४९१८ नम्बरको जीप वालिङ १० मदी खोलामा दुर्घटनामा परेको हो ।
चरेस कारोबार गर्ने ७ पक्राउ काठमाडौँ । नेपालबाट हङकङमा अवैध लागुऔषध चरेसको कारोबार गर्ने गिरोहका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुको साथबाट ७ केजी ९ सय ७७ ग्राम अवैध लागुऔषध चरेस बरामद भएको ब्युरोका प्रवक्ता (एसपी) जीवन श्रेष्ठले बताए । पक्राउ पर्नेमा पर्सा घर भएका दिनदयाल महतो उराव, दीपेन्द्र महतो, मकवानपुरका रवि मोक्तान, मोरङ उर्लाबारीका अन्जित थापा, सिन्धुपाल्चोक घर भएका सुजन श्रेष्ठ, जालिन्द्र श्रेष्ठ उर्फ सागर र धादिङ थाक्रे गाउँपालिका घर भएका मोतिलाल तामाङलाई प्रहरीले पक्राउ गरेको छ । असोज १६ गते रविलाई चरेस उपलब्ध गराउने मोतीलाललाई समेत २ ग्राम ५ सय मिलिग्राम चरेससहित पक्राउ गरिएको छ। उनले धादिङ लगायत विभिन्न स्थानबाट लागूऔषध चरेस संकलन गरी उपलब्ध गराउने गरेको अनुसन्धानबाट खुलेको छ। उनीहरूले नेपालबाट विभिन्न हस्तकलाका सामानहरूमा चरेस लुकाई कार्गोबाट हङकङ पठाउने गरेको पाइएको छ। पक्राउ परेका विरुद्ध लागुऔषध सम्बन्धी कसूरमा अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको लागुऔषध नियन्त्रण ब्यूरोले जनाएको छ।
भरतपुरमा बसको ठक्करबाट बालकको मृत्यु काठमाडौं। भरतपुर महानगरपालिका–७ मा आज नबा १ प १२८४ नम्बरको बसको ठक्कबाट एक बालकको मृत्यु भएको छ । चौबिसकोठीबाट पटिहानीतर्फ जाँदै गरेको उक्त बसले स्थानीय पैदलयात्री आठ वर्षका बालकलाई विकास चोकमा ठक्कर दिएको थियो । बालकको अपचारका लागि अस्पताल ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । बालकलाई ठक्कर दिने बस र चालक प्रहरीको नियन्त्रणमा रहेको कार्यालयले जनाएको छ । बालकको सनाखत हुन सकेको छैन ।
सन्दर्भ १४ औं महाधिवेशन : के नेपाली कांग्रेसमा धर्मसापेक्षका पक्षधरहरु एक हुन सक्छन् ? नेपालको राजनीतिमा धर्मनिरपेक्षता की धार्मिक सापेक्षता भन्ने बहस अहिले जोड्तोड्ले चलेको छ । धर्मनिरपेक्षता नेपालको संविधानले स्वीकार गरेको कुरा हो । मन्दिर नै मन्दिरको देश भनेर चिनिने नेपाललाई इतिहासमा तपोभूमिको देश भनेर चिनिन्छ । नेपाललाई विदेशीको दवावमा धर्मनिरपेक्ष राखिएको आरोप एक पक्षले लगाई रहेका छन् भने अर्को पक्ष अहिले पनि धर्मसापेक्षता वा धार्मिक स्वतन्त्रता वा सनातन हिन्दुधर्म वा सनातन ओमकार मान्ने हिन्दु, बौद्ध र किराँत सबैको एक समग्र नामाकरण गरेर मान्ने पक्षमा जानुपर्दछ भन्नेहरु छन् । नेपाली कांग्रेसका महामन्त्री तथा अबको १४ औं महाधिवेशनका सभापतिमा उम्मेदवारी दिन्छु भनेर घोषणा गरेका डा. शशांक कोइरालाले हिन्दु धर्मका लागि मैले मात्र पहल गर्न सक्ने भएकोले म सभापतिको दावेदार भन्न थालेका छन् । यस्तो अवस्थामा के नेपाली कांग्रेसभित्र धर्मसापेक्षका पक्षधरहरु एक हुन सक्दछन् भन्ने प्रश्न नयाँ ढंगले उठन थालेको छ । नेपाली कांग्रेस भित्र अहिले उपाध्यक्ष रहेका बिमलेन्द्र निधि धर्म निरपेक्षताको पक्षमा जोडतोडले लागेका छन् । नेपाली कांग्रेस भित्र धर्म निरपेक्षतालाई स्थापित गर्ने अभियानमा रहेका बिमलेन्द्र निधि शेरबहादुर देउवाको आर्शिवादले पार्टीको संगठनमा हावी भएका थिए । नेपाली कांग्रेसले स्थापना कालदेखि नै आफ्नो विधानमा धार्मिक स्वतन्त्रता मान्ने पार्टीको रुपमा आफूलाई परिचित गराएको थियो । २०६२\०६३ को आन्दोलन पछि आएको गणतन्त्रमा हतपतमा केही कामहरु गर्ने क्रममा नेपाली कांग्रेसका अध्यक्ष गिरिजाप्रसाद कोइरालाले धार्मिक स्वतन्त्रतालाई छोडेर धर्म निरपेक्षताको पक्षमा निर्णय लिए जसले गर्दा नेपाली कांग्रेसको विधान संशोधन गर्दा धार्मिक स्वतन्त्रतालाई हटाएर धर्मनिरपेक्षतालाई अंगाल्ने निर्णय गरेको थियो । नेपाली कांग्रेस भित्र अहिले उपाध्यक्ष रहेका बिमलेन्द्र निधि धर्म निरपेक्षताको पक्षमा जोडतोडले लागेका छन् । नेपाली कांग्रेस भित्र धर्म निरपेक्षतालाई स्थापित गर्ने अभियानमा रहेका बिमलेन्द्र निधि शेरबहादुर देउवाको आर्शिवादले पार्टीको संगठनमा हावी भएका थिए । पछिल्लो चरणमा बिमलेन्द्र निधि आफै सभापतिको दावेदार भएर अघि बढेकाले अब उनले धर्मनिरपेक्षताको पक्षमा गरेको पैरवीलाई शेरबहादुर देउवाले हुवहू रुपमा अघि बढाउने हुन कि सन्शोधन गरेर अघि बढ्ने हुन त्यो भविष्यको कुरा हो । जहाँसम्म शेरबहादुर देउवाले नियुक्त गरेका तरुण विभागका प्रमुख शंकर भण्डारीले सार्वजनिक रुपमा नै नेपाली कांग्रेस हिन्दु धर्मको पक्षमा जानु पर्दछ भनेर पैरवी गर्नु र यसमा नेपाली कांग्रेसको ठूलो जमातको समर्थन हुदै जानुले कतै आगामी महाधिवेशनमा हिन्दुधर्मको पक्षमा जोडतोडले कुरा उठ्ने त हैन भन्ने आशंका गरिदैछ । नेपाली कांग्रेसले यस अघि काठमाडौंमा गरेको महाधिवेशन प्रतिनिधिहरुको भेला भएको स्थानको बाहिरपट्टी हिन्दुधर्मको पक्षमा हस्ताक्षर संकलन गरिएको थियो । भेलामा मन्तव्य राख्नेहरुले समेत हिन्दु धर्मको पक्षमा खुलेर वकालत गरेका थिए । मिडियाले राम्रोसंग कभरेज गरेको थियो । नेपाली कांग्रेसको एक हस्तीका रुपमा चिनिएका स्व। खुमबहादुर खड्काले आफ्नो जीवनको उत्तरार्धमा नेपालमा हिन्दुराज्य स्थापित गर्नुपर्दछ भनेर अभियान नै चलाएका थिए । उनको अभियानलाई उनको मृत्यु पछि पनि उनका अनुयायीहरुले जोडतोडले उठाई रहेका छन् । शंकर भण्डारीले हिन्दु धर्मको पक्षमा खुलेर पार्टी भित्रै आफ्नो धारणा राखिराखेका छन् । नेपाली कांग्रेसका केही नेताहरु नेपाल हिन्दु राष्ट्र हुनुपर्दछ भन्दै छन् भने कोही नेपाल हिन्दु अधिराज्य हुनुपर्दछ भन्ने पक्षमा छन् । हिन्दु राष्ट्र भन्नेहरु राजा विहिन हिन्दु राज्यको पक्षमा छन् भने हिन्दु अधिराज्य भन्नेहरु राजा सहितको हिन्दु अधिराज्यको पक्षमा छन् । कोही हिन्दु हाम्रो धर्म होइन । यो त एउटा पन्थीमात्र हो । हामी सनातनी हौं भन्दैछन् । पछिल्लो समय नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समेत धार्मिक गतिविधिहरुमा सक्रिय भएका समाचारहरु भाइरल हुने गरेका छन् । नेपाली कांग्रेसको वडा तहदेखि शुरु भएको अधिवेशनमा विजयी भएका नेताहरुको अभिव्यक्तिको समीक्षा गर्ने हो भने धेरै जसो सनातनदेखि चल्दै आएको नेपालको सनातनी धर्मको पक्षमा रहेको पाइएको छ । कांग्रेस भित्रका नेताहरुको शारिरिक हाऊभाऊ हेर्दा धार्मिक स्वतन्त्रताको पक्षमा अधिकांश देखिन्छन् । तर यसलाई कुन शब्दमा कसरी व्याख्या गर्ने भन्नेमा उनीहरुबीच मै अन्यौलता देखिन्छ । नेपाली कांग्रेसका केही नेताहरु नेपाल हिन्दु राष्ट्र हुनुपर्दछ भन्दै छन् भने कोही नेपाल हिन्दु अधिराज्य हुनुपर्दछ भन्ने पक्षमा छन् । हिन्दु राष्ट्र भन्नेहरु राजा विहिन हिन्दु राज्यको पक्षमा छन् भने हिन्दु अधिराज्य भन्नेहरु राजा सहितको हिन्दु अधिराज्यको पक्षमा छन् । कोही हिन्दु हाम्रो धर्म होइन । यो त एउटा पन्थीमात्र हो । हामी सनातनी हौं भन्दैछन् । कोही संविधानमा धर्म निरपेक्षता होइन, धार्मिक स्वतन्त्रता लेखिनु पर्दछ भन्दैछन् । कोही सनातन धर्म र कोही ओमकार परिवारको बहस गरिरहेका छन् । कोही हिन्दु, बौद्ध र किराँत धर्म मिश्रित हाम्रो सनातन धर्म भनेर अघि बढ्नु पर्दछ भन्दैछन् । संस्कृत विद् सत्यमोहन जोशीले एक सन्दर्भमा हामी २००७ सालत अघिसम्म सनातनी धर्मको पक्षमा थियौ । यहाँ हिन्दु भन्ने नै थिएन । सनातन धर्म भन्ने वित्तिकै अहिले टुक्राइएको हिन्दु, बौद्ध र किराँत धर्मको समिश्रित रुप थियो । हिन्दु भनेर त पछि मात्रै आएको भन्ने तर्क जोशीको छ । जोशीकै तर्कलाई आधार मान्ने हो भनेपनि हामीले सनातन धर्मको पक्षमा लाग्ने खाका तयार गरेर नेपालमा धार्मिक सहिष्णुतालाई कायम राख्न नेपाली कांग्रेसले पहिले आफ्नो विधानमा परिमार्जन गर्नु पर्दछ र सत्तामा भएको बेला धर्म कस्तो मान्ने भनेर संसदमा दुईतिहाई बहुमत पु¥याएर संविधान संशोधन गर्न तर्फ लाग्नु पर्दछ । अथवा संसदबाट सम्भव भएन र ३ करोड नागरिककै सहमति लिएर गर्ने हो धर्मको बारेमा जनमत संग्रह गराउनु पर्दछ । धर्मको बारेमा जनमत संग्रहमा जाँदा धार्मिक द्वन्द्व समेत बढ्न सक्दछ । यसलाई कसरी समाधान गर्ने भन्नेमा नेपाली कांग्रेस सचेत हुनुपर्दछ । जे गर्नु पर्ने हो त्यो १४ औं महाधिवेशनमा शसक्त रुपमा गर्नु पर्दछ । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने मात्र होइन, प्रतिस्पर्धामा उत्रिने सभापतिका उम्मेदवारहरुले शासकीय प्रणाली, धर्म, निर्वाचन प्रणाली र आर्थिक उन्नतीका आधारहरुको खाका बनाएर अघि बढ्नु पर्दछ । अहिलेसम्म उम्मेदवारी दिनेहरुले शासकीय स्वरुप, निर्वाचन प्रणाली र आर्थिक उन्नतीका पाटामा केही नयाँ सोच ल्याएको पाइदैन । धर्मका लागि सभापतिका उम्मेदवारहरु मध्ये डा. शशांक कोइराला र बिमलेन्द्र निधिले मात्र बोल्ने गरेको पाइन्छ । डा। शशांक कोइराला हिन्दुधर्मको पक्षमा बोल्दै आउनु भएको छ भने बिमलेन्द्र निधि धर्मनिरपेक्षताको पक्षमा वकालत गर्दै आउनु भएको छ । यो दुई विचार देख्दा प्रकाशमान सिंह, बिमलेन्द्र निधि र डा. शशांक कोइरालाबीच एक उम्मेदवार हुने पटक पटकको बैठक औचित्यहीन, डिनर र लञ्चपार्टीमा मात्र सिमित रहेको बुझ्न सकिन्छ । गिरिजाप्रसाद कोइरालाले धार्मिक स्वतन्त्रतालाई बटम लाइन बनाएर हिड्न चाहेका थिए । तर उनलाई छोरी सुजाताले धोखा दिएको प्रसंग खुबै चर्चामा आएको थियो । गिरिजाप्रसाद कोइरालालाई धर्म निरपेक्षाको पक्षमा हस्ताक्षार गराउन उनका सल्लाहकार र छोरीले खेलेको भूमिकाका बारेमा अर्को बहसमा विस्तृतमा छलफल गरिने छ । यहाँ यत्तिकै भनौ धर्म निरपेक्षका लागि मोटो रकम प्राप्त गर्नेहरुको जालमा गिरिजाप्रसाद कोइराला फस्न गए । पछिल्लो समय विमलेन्द्र निधिले आफ्नो सम्पर्क कार्यालयको उद्घाट्न गर्दा धार्मिक अनुष्ठान नै लगाए भन्ने कुरा मिडियामा छाएको थियो । उनी पनि हिन्दु धर्मको शरणमा गए भन्ने आरोप लाग्यो । तर त्यो कुरा नसेलाउँदै एक सञ्चारमाध्यममा निधिको अन्तर्वार्ता आयो जसमा पशुपति र जानकी मन्दिरमा राजनीतिक पार्टीको झण्डा गाड्नका लागि हिन्दु धर्म ल्याउन खोजेको हो भनेर बम्किए । उनको आशय थियो, हिन्दु राज्य भएमा पार्टीहरुले पशुपति र जानकीमन्दिरमा पार्टीको झण्डा गाड्छन् । तर उनले यसो भनिरहँदा नेपाल अधिराज्यको संविधान, २०४७ मा हिन्दु धर्म लेखिएको भएपनि कसैले पशुपति र जानकी मन्दिरमा पार्टीको झण्डा नराखेको बुझेका रहेछन् । हो, विचार राख्न पाइन्छ । तर, त्यसले पुरानो अवस्थामा के भइरहेको थियो भन्ने कुरा पनि हेक्का राख्नु पर्दछ । नेपालको संविधानमा हिन्दु राज्य लेखिदापनि यहाँ अन्य सबै धर्मले फुल्ने फल्ने अवसर त पाइरहेकै थिए । राज्यले धर्म मान्नु हुदैन भन्ने धारणा बामपन्थी धारणा हो । बामपन्थीहरु धर्मलाई अफिमका रुपमा मान्दछन् । जुन नेपालमा सम्भव नै छैन । यहाँ दैनिक जीवनमा जसलेपनि कुनै न कुनै धर्मको सहारा लिएकै हुन्छन् । राज्यले धर्ममान्नु हुदैन भन्नेहरुले के बुझ्नु पर्दछ भने नेपालका प्रायजसो धार्मिक स्थलहरु सार्वजनिक नै छन् । पशुपति होस वा पाथिभरा, हलेसी होस या मुक्तिनाथ सबै सरकारको सम्पत्ति हो । त्यसैले पनि सरकारले सार्वजनिक धार्मिक स्थलहरुको संरक्षण र प्रचार प्रसारको लागि खर्च गर्नु पर्दछ । यो सरकारको दायित्व भित्र पर्दछ । गुठीसम्बन्धी विधेयक ल्याउँदा सरकारलाई कत्ति अप्ठेरो परेको थियो भन्ने सबैले बुझेकै छन् । नेपालमा धार्मिक पर्यटनलाई बढाएर आर्थिक उन्नती गर्नका लागि पनि प्रकृतिले दिएको, ऐतिहासिक प्रणामहरुले जुराई दिएको सनातनी धर्मको प्रचार प्रसार गर्नुपर्ने दायित्व सरकारको त हो नै यसका लागि राजनीतिक पार्टीहरुले पनि अगुवाई गर्नु पर्दछ । जसको शुरुवात भनेकै नेपालको संविधानबाट धर्म निरपेक्षतालाई हटाएर धार्मिक स्वतन्त्रता वा सनातन धर्म वा हिन्दु धर्म वा धर्मका विज्ञहरुसंग छलफल गरेर त्यस्तो केही शब्द राखौं जसले धर्मको संरक्षण गर्न सरकार बाध्य होओस । यसले कला, संस्कृति, परम्परा, रितिरिवाजको संरक्षण र प्रचारप्रसार हुन गई देशको पहिचान बढेर जान्छ । जसले राष्ट्रियतालाई समग्रमा बलियो बनाउँछ । नेपाली कांग्रेसले आफ्नो महाधिवेशनमा धर्मको विषयलाई एउटा शसक्त मुद्धा बनाउनु पर्दछ । यसको शुरुवात गर्न तस्मिएका डा. शांशक कोइराला स्वयंले कस्तो शब्द राख्ने भन्ने बारेमा पार्टी भित्रै वा शुभेच्छुकहरु माझ अहिलेदेखि नै छलफल चलाउनु पर्दछ । नेपाली कांग्रेसले आफ्नो महाधिवेशनमा धर्मको विषयलाई एउटा शसक्त मुद्धा बनाउनु पर्दछ । यसको शुरुवात गर्न तस्मिएका डा. शांशक कोइराला स्वयंले कस्तो शब्द राख्ने भन्ने बारेमा पार्टी भित्रै वा शुभेच्छुकहरु माझ अहिलेदेखि नै छलफल चलाउनु पर्दछ । कोइराला आफै महामन्त्री भएकाले महाधिवेशको उहाँले प्रस्तुत गर्ने प्रतिवेदन वा अन्य दस्तावेजमा यसलाई समावेश गरेर पार्टी भित्रै पारित गराउन सक्नु पर्दछ । हैन भने जनमत बटुल्न चलाएको हल्लामात्र हो कि भन्ने आमनागरिकहरुले शंकागर्ने ठाउँ रहन्छ । डा. शशांक कोइरालाले आफूमात्र होइन, पार्टीका अन्य नेताहरुलाई पनि आफ्नो अभियानप्रति आकर्षित गर्नु पर्दछ । आफ्ना कार्यकर्ता, शुभचिन्तकहरुलाई धर्मको पक्षमा वकालत गर्न लगाउनु पर्दछ । मिडिया गएको बेला सम्झिएर धर्मको लागि जनमत संग्रह गराउँछु भनिदियो, भारतको संस्थापन पक्षलाई खुसी पार्न बोलिदियो तर त्यसको लागि आधारहरु तयार गर्न कुनै कसरत नग¥यो । यसो भयो भने डा. शशांक कोइराला समेत निर्णय लिन खोज्ने तर त्यसका लागि सही कदम चाल्न असफल नेताका रुपमा इतिहासमा दर्ज हुनेछन् । हेरौं, नेपाली कांग्रेसमा कुन कुन नेताहरु धर्मको सम्बन्धमा के के सवाल उठाएर महाधिवेशनमा अग्रसर हुन्छन् ? उनीहरुको विचार र गतिविधिलाई नागरिकहरुले सुक्ष्मरुपमा सुनिरहेका छन् । आगामी निर्वाचनमा नेपाली कांग्रेसको धर्म प्रतिको दृष्टिकोणले पनि प्राप्त हुने मतमा असर पार्ने छ । सिंगो कांग्रेस भित्र धर्म प्रतिको धारणा एक छैन । पार्टी भित्र धर्मसापेक्षताका पक्षधरहरु गोलबन्ध हुनु आवश्यक छ । धार्मिक दृष्टिकोण एउटै बनाउन समेत नेपाली कांग्रेसको १४ महाधिवेशन सफल हुनुपर्दछ ।
दुई सातामा ३४ हजार नेपाली स्वदेश फर्किए महेन्द्रनगर । पछिल्लो समय भारतबाट नेपाल फर्किनेहरूको लर्को नै लागेको छ। दसैं–तिहारलगायतका चाडपर्व मनाउनका लागि सुदूरपश्चिमका प्रमुख नाकाबाट स्वदेश फर्किनेको लर्को लागेको हो। सुदूरपश्चिमेलीको रोजगारीको प्रमुख गन्तव्य भारतका विभिन्न सहरबाट चाडपर्व मनाउन यहाँको गड्डाचौकी र गौरीफन्टा नाकाबाट स्वदेश फर्किनेको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको प्रहरीले जनाएको छ । बितेको दुई सातायतायता कञ्चनपुरको गड्डाचौकीबाट २४ हजार र गौरीफन्टा नाकाबाट दश हजारभन्दा बढी नेपाली स्वदेश फर्किएका छन्। स्वदेश फर्किनेको भीड बढेपछि प्रहरीले सीमा क्षेत्रको सुरक्षा सर्तकता बढाएको छ। “ गड्डडाचौकी नाकाबाट मात्रै दैनिक एक हजारदेखि एक हजार ५०० जनासम्म भित्रिएको तथ्याङ्क छ”, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले भने, “नाकामा भीडभाड बढेपछि सुरक्षा बढाउनुका साथै यात्रुको सहजतामा ध्यान दिएका छौं ।” गड्डाचौकी नाकामा सुरक्षाका दृष्टिकोणले कुकुर परिचालन गरेर निगरानी बढाइएको छ। भने यात्रुको सहजताका लागि यात्रु सहायता कक्ष स्थापना गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयले चाडपर्वका बेला हुनसक्ने आपाराधिक गतिविधि नियन्त्रणका लागि चाडपर्व लक्षित सुरक्षा योजनासमेत बनाएर शान्ति सुरक्षाका लागि खटिएको छ । त्यसैगरी, डोकेबजारस्थित प्रहरीचौकी पचगडियाका प्रहरी नायब निरीक्षक दिपेन्द्र थापाले चाडपर्व मनाउन स्वदेश फर्किने क्रम यहाँबाट पनि बढेको बताए। सो नाकाबाट दैनिक पाँच सयदेखि एक हजार ४०० सम्म दैनिक भित्रिएको तथ्याङ्कले देखाएको छ। भारतको दिल्ली, मुम्बै, महाराष्ट्र, पञ्जाव, पुना, बैङ्लोर, सिमला, हरिद्धारलगायतका सहरमा नेपाली रोजगारीका लागि सदियौंदेखि आउने जाने गरेका छन् । त्यसैगरी, भारतबाट घर फर्किनेबाट कोभिड सङ्क्रमणको जोखिम रहेकाले जिल्ला स्वास्थ्य कार्यालयले सीमामा परीक्षण र खोप लगाउने कामलाई अघि बढाएको छ। “नाकामा कोरोना परीक्षण गर्ने र सङ्क्रमण देखिए आइसोलेसनमा आश्रय दिने गरिएको छ”, स्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनारले भने, “हामीले चाडपर्वसँगै कोरोनाप्रति सजगता अपनाउन जुरुरी छ ।” स्वास्थ्य कार्यालयले गड्डाचौकीमा सङ्क्रमण देखिएकालाई कम्युनिटी हेल्थ इन्स्टिच्युट (आइसीएच) को आइसोलेशनमा राख्ने गरिएको बताए। “अहिले सात जनामा सङ्क्रमण देखिए पनि आइसोलेशनमा रािखएको छ”, उनले भने, “नाकामा आउनेलाई व्यवस्थित रुपमा परीक्षण र खोपको व्यवस्थापनमा खटिएका छौं ।” यता भारतबाट स्वदेश फर्किनेले भने सीमामा घन्टौं लाइन बस्नु पर्दा समस्या भइरहेको गुनासो पोखेका छन्। उनीहरुले स्वास्थ्य सर्तकताका लागि पहल गरिए पनि सहज गर्न माग गरेका छन्। “रातभरी बसको यात्रामा थाकिएको हुन्छ”, भारतको सिमलाबाट आउँदै गरेका दिलबहादुर बुढाले भने, “भारी बोकेर नाकामा लाइन बस्दा निकै सास्ती हुन्छ।” स्थानीय प्रशासनले भारतीय नागरिकलाई भने आधार कार्ड, कोराना परीक्षण गरेको कागजात देखाएमात्रै नेपाल प्रवेश गर्न अनुमति दिएको छ । रासस
तीन सय प्रतिबन्धित लागुऔषधसहित तीन युवक पक्राउ काठमाडाैं। प्रतिबन्धित लागुऔषध बरामद भएपछि तीन युवकप्रहरीका फन्दामा परेका छन्। प्रहरी चौकी खिरौना र सशस्त्र प्रहरी बल बुधौरा सिरहाबाट खटिएको संयुक्त टोलीले आज सिरहा नगरपालिका–१५ बुधौरास्थित दशगजाबाट लागुऔषधसहित सिरहा नगरपालिका–२१ लकडीगोठका १९ वर्षीय विमलेश कर्ण, २६ वर्षीय वंशराज मुखिया र सप्तरीको राजविराज नगरपालिका–९ का १९ वर्षीय निकित कुमारलाई पक्राउ गरेको हो । बिआर३२एजी ५५११ नंको मोटरसाइकलमा सवार तीनै जनालाई जाँच गर्दा नाइट्रोभेट नामक लेखिएको १० पत्ता (३०० ट्याबलेट) लागुऔषध बरामद भएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
जीप दुर्घटना हुँदा चालकको मृत्यु काठमाडाैं। रोल्पामा आज लु१च ९४९३ नं को जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । रोल्पा नगरपालिकाको सल्लीबोटबाट बाजाबाङ जाने क्रममा लु१च ९४९३ नं को जीप छेर्लापोखरा भन्ने स्थानामा दुर्घटना हुँदा सो जीपका चालक सोही नगरपालिका–१ खेवासेका २० वर्षीय गोबद्र्धन घर्तीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख नरेशराज सुवेदीका अनुसार जीप सडकबाट ३० मिटर तल खसेको छ । दुर्घटनामा परी जीपका सहचालक रोल्पा नगरपालिका सल्लीबोटका २० वर्षीय नवीन पुन घाइते भएका छन् । रोल्पा अस्पताल रेउघामा उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बुटवलको मोतीपुर औद्योगिक क्षेत्र तनावग्रस्त, प्रहरीको गोली लागेर पाँच घाइते काठमाडौं।रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण गर्ने विषयमा विवाद बढ्दा स्थिति तनाग्रस्त बनेको छ । अतिक्रमकणकारीले हट्न नमानेपछि प्रहरीले गोली चलाएको छ । गोली लागेर पाँच जना घाइते भएका छन् । प्रहरीमाथि ढुंगामुढा गर्न थालेपछि गोली चलाएको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए । यसअघि आइतबार बिहानै प्रहरी र औद्योगिक क्षेत्रको जग्गा ओगटेर बसेकाहरूबीच दोहोरो झडप भएको थियो । औद्योगिक क्षेत्रको करिब साढे आठ सय बिघा जग्गामध्ये चार सय बिघा जग्गा अतिक्रमण भएको छ । आइतबार बिहान ५ बजेदेखि नै तैनाथ भएका प्रहरीले अस्थायी रूपमा बनाइएका टहराहरू भत्काउन खोज्दा स्थानीयसँग झडप भएको हो । झडपमा परी दुईजना घाइते भएका थिए । दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । राति १ बजे घर घेराउ गरी स्थानीय ३१ वर्षीय हिमाल रानालाई प्रहरीले पक्राउ गरेको स्थानीयको आरोप छ । बुटवल वडा नं १७ र १८ मा पर्ने औद्योगिक क्षेत्रको नदी उकास क्षेत्रमा गत सातादेखि ठूलो संख्यामा अस्थायी टहरा बनाएर जग्गा अतिक्रमण भएको थियो। प्रशासनले तीन दिनदेखि राति टहरा भत्काइँदै आएको थियो । तर, त्यसरी पनि अतिक्रमित जग्गाबाट स्थानीय हट्न नखोजेपछि प्रहरीले आइतबार बल प्रयोग गरेको हो । इलाका प्रहरी कार्यालय बुटवलले बारम्बार हट्न आग्रह गर्दा पनि नमानेपछि सामान्य बल प्रयोग गरेको जनाएको छ । गत चैतमा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले औद्योगिक क्षेत्रको शिलान्यास गर्दा स्थानीयले प्रतिरोध गरेका थिए । आफूहरूले वर्षौंदेखि भोगचलन गर्दै आएको जग्गा थाहै नदिई औद्योगिक क्षेत्रको नाममा लगेको भन्दै स्थानीय आक्रोशित थिए । उक्त जग्गा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको नाममा छ । औद्योगिक क्षेत्र निर्माणका लागि डीपीआरसमेत तयार भइसकेको अवस्थामा स्थानीयले अतिक्रमण रोकेका छैनन् ।
पाकिस्तानलाई परमाणु शक्तिसम्पन्न देश बनाउने वैज्ञानिक डा. अब्दुल कादिर खानको निधन काठमाडौं। पाकिस्तानका प्रसिद्ध परमाणु वैज्ञानिक डा. अब्दुल कादिर खानको निधन भएको छ । डा. खानको आइतबार ८५ वर्षको उमेरमा निधन भएको हो । डा. खानलाई पाकिस्तानको परमाणु कार्यक्रमका जनक मानिन्छ । स्वास्थ्यमा खराबी आएपछि डा. खानलाई खान रिसर्च ल्याबोरेटोरिज अस्पतालमा भर्ना गरिएको थियो । Deeply saddened by the passing of Dr A Q Khan. He was loved by our nation bec of his critical contribution in making us a nuclear weapon state. This has provided us security against an aggressive much larger nuclear neighbour. For the people of Pakistan he was a national icon. — Imran Khan (@ImranKhanPTI) October 10, 2021 स्थानीय समयअनुसार आइतबार बिहान ७ बजे डा. खानको अस्पतालमै निधन भएको हो । जियो न्यूजका अनुसार उनलाई सास फेर्न समस्या भएपछि आइतबार बिहानै अस्पतालमा भर्ना गरिएको थियो । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले डा. खानको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उनले ट्वीटरमा लेखेका छन् ‘डा. अब्दुल कादिर खानको निधनबाट धेरै दुःखी छु । पूरै देशले उहाँलाई धेरै माया गर्छ। उहाँले राष्ट्रको सुरक्षाको लागि हामीलाई परमाणु हतियार दिनुभएको छ । पाकिस्तानका नागरिकको लागि उहाँ हिरो हुनुहुन्थ्यो ।’ तत्कालीन ब्रिटिस इण्डिया र अहिले भारतमा पर्ने भोपालमा सन् १९३६ को अप्रिल १ मा जन्मिएका डा. अब्दुल कादिर खानको पाकिस्तानलाई मुस्लिम जगतमै पहिलो परमाणु हतियार सम्पन्न देश बनाउने काममा निकै ठूलो योगदान छ । पाकिस्तानी परमाणु बम विष्फोट गरेपछि उनलाई देशको सर्वोच्च नागरिक पुरस्कार दिइएको थियो । पाकिस्तानी जनताले उनलाई एक राष्ट्रनायकको रुपमा हेर्ने गर्छन् ।
कुपण्डोलमा भण्डारण गरिएको २० लाखको पटाकासहित एक जना पक्राउ काठमाडौं।महानगरीय प्रहरी अपराध महाशाखाले २० लाख मूल्य बराबरको पटाकासहित एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा बारा गढिमाई–३ गञ्जभवानीपुर घर भई कुपण्डोल गुसिंगल बस्ने ३० वर्षीय उमेशकुमार जैसवाल रहेका छन् । गैरकानुनी रुपमा पटका, भुईचम्पा लगायतका आतिसबाजीजन्य विष्फोटक पदार्थहरु विक्री वितरण गर्न भण्डारण भइरहेको सुराकीका आधारमा महाशाखाको प्रहरी टोलीले शनिबार ललितपुर–१ कुपण्डोलस्थित गुसिंगलमा छापा मार्दा टहरा भाडामा लिई भण्डारण गरिएको अवस्थामा १४९४ केजी आतिसबाजीजन्य विष्फोटक पदार्थ फेला पारेको हो । बरामद गरिएको पटाका करिब २० लाख मूल्यको रहेको महाशाखाले जनाएको छ । पक्राउ परेका जैसवाललाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ७ को विष्फोटक पदार्थसम्बन्धी कसुरअन्तर्गतको मुद्दामा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको छ ।
आज प्रदेश १, बागमती र गण्डकीमा वर्षाको सम्भावना काठमाडौं। आज आइतबार मध्य र पूर्वी नेपालमा वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, बागमती र गण्डकीका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ । सुदूरपश्चिम, कर्णालीबाट मनसुन बाहिरिसकेको छ भने लुम्बिनीका पश्चिमी भुभागबाट पनि मनसुन बर्हिगमन भइसकेको छ । जसकारण ती प्रदेशमा मनसुनी प्रभाव छैन । ठूलो वर्षाको सम्भावना पनि नरहेको मौसमविद्ले बताएका छन् । तर, नेपालबाट मनसुन बाहिरिनसकेकाले पूर्वी नेपालमा भने त्यसको गतिविधि कायमै छ ।राति पनि प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
तिलगङ्गामुनिको पहेँलो पुलस्थित वाग्मती किनारमा सफाइ काठमाडौं । तिलगङ्गामुनिको पहेँलो पुल क्षेत्रस्थित नदी किनारमा सफाइ गरिएको छ । काठमाडौँ महानगरपालिकाले अझै राम्रोसँग फोहर नउठाएकाले नदी किनारमा धेरै फोहर भेटिएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य डा माला खरेलले जानकारी दिए । यसका कारण वाग्मती वरपर फोहर भएको हो । सफाइमा स्थानीय सरकारले स्वामित्व नलिँदा सभ्यताको स्रोत नदी सफाइमा चुनौती थपिँदै गएको छ । यसैगरी मनोहरा सफाइको २३८औँ हप्तामा काठमाडौँ महानगरपालिका वडा नं. ३२ स्थित बालकुमारी पुलक्षेत्रमा सफाइ गरिएको छ । सफाइमा अभियानकर्मी, विभिन्न सामाजिक संस्थाका प्रतिनिधि गरी करिब १०० जना भन्दा बढी अभियानकर्मीको सक्रियता रहेको संयोजक चन्द्र दङ्गालले जानकारी दिए। सफाइबाट व्यवस्थापन भएको फोहर काठमाडौँ महानगरपालिकाको गाडीले व्यवस्थापन गरी लगेको उनले सुनाए । सफाइपछि आयोजित कार्यक्रममा अभियानकर्मीबीच बडादशैँ, शुभ दीपावली, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा शुभकामना आदानप्रदान र चियापानसमेत गरिएको थियो । अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिना, महानगरपालिका वडा नं ९ का सदस्य टेकराज अधिकारीलगायत अभियानकर्मी गरी सफाइमा २०० जनाभन्दा बढीको सहभागिता थियो । नेपालीको महान् चाड बडादशैँ शुरु भइसके पनि अभियानकर्मी वाग्मती सफाइ अभियानमा उत्साहका साथ सहभागी भएका थिए । दशैँ, तिहारलगायत महत्वपूर्ण चाडका बेला पनि वाग्मती सफाइ नरोकिने अभियानकर्मीको प्रतिबद्धता छ ।
हेलिकोप्टरमार्फत घाइतेको उद्धार काठमाडौं । शुक्रबार भिरबाट लडेर घाइते भएका युवकलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत आज उद्धार गरिएको छ । बाजुराको पूर्वी उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिका २ का ४० वर्षीय नरेन्द्र बुढाको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार बुढा शुक्रबार भिरबाट लडेर घाइते भएर अवस्था गम्भीर भएपछि सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले खर्च व्यहोर्ने गरी सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । प्रशासनको समन्वय र मन्त्रालयको सहयोगमा घाइते भएका बुढाको उद्धार गरिएको प्रजिअ अधिकारीको भनाइ छ । उद्धार गरिएका बुढाको थप उपचारका लागि नेपालगञ्ज पठाइएको प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले बताए ।
ट्रकको ठक्करबाट मृत्यु काठमाडौं । ट्रकको ठक्करबाट आज एक व्यक्तिको मृत्यु भएको छ । सुनसरीको दुहबी नगरपालिका–३ कोशी राजमार्गअन्तर्गत एनएल०२क्यू ०१३४ नंको ट्रकले को१०प २६८१ नंको मोटरसाइकललाई ठक्कर दिँदा मृत्यु भएको हो। मृत्यु हुनेमा मोटरसाइकल चालक मोरङ सुन्दरहरैचा नगरपालिका–८ का ४५ वर्षीय लक्ष्मीप्रसाद लुइँटेल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए।
महोत्तरीमा सहिद परिवारका घरमा धनमाल लुटपाट काठमाडौं । आज बिहान डाँकाको एक समूहले सहिद परिवारको घरबाट लाखौँको धनमाल लुटेका छन्। आज बिहान अन्दाजी ३ बजे चार-पाँच जनाको समूहमा आएका डाँकाले सहिद गणेशप्रसाद चौधरीको छोरा र शहीद रोहन चौधरीको काका विजय चौधरीको घरबाट १० तोला सुनको गहना र रू २५ हजार लुटेका हुन् । महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रकाश विष्टका अनुसार धारिलो हतियारसहित मास्क लगाएर आएका डाँकाले घरमूली विजय चौधरी बिरामी भएर काठमाडौँमा उपचाररत रहेको मौका छोपी घरभित्र पसेर छोरा रोशन चौधरीलाई नियन्त्रण लिइ लुटपाट गरी भागेका थिए । लुटपाट गर्ने क्रममा प्रतिकार गर्दा डाँकाले रोशनलाई टाउकामा हतियारले हिर्काएर घाइते बनाएका थिए । जिल्ला अस्पताल जलेश्वरमा उपचारका क्रममा उनको टाउकोमा ११ वटा टाँका लगाइएकोे र थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ ।
१३६ देशहरुबीच ठूला कम्पनीलाई धेरै कर तिराउने सम्झौता काठमाडौं। विश्वका अधिकांश देशहरुले ठूला कम्पनीहरुलाई धेरै कर लगाउने ऐतिहासिक सम्झौता गरेका छन् । विश्वका १३६ देशहरु ठूला कम्पनीहरुमाथि कम्तीमा १५ प्रतिशत कर्पोरेट कर लगाउने कुरामा सहमत भएका छन् । यसका अलावा यी देशहरुबीच ठूला कम्पनीको मुनाफामा पनि उचित कर लगाउने सहमति भएको बीबीसीले जनाएको छ । पछिल्लो समय बहुराष्ट्रिय कम्पनीहरुले आफूले तिर्नुपर्ने करबाट बच्नको लागि कम कर तिर्नुपर्ने देशहरुमा धेरै नाफा देखाउने गरेको चिन्ता व्यक्त गरिएको थियो । कम्पनीहरुले कम कर भएका देशमा धेरै नाफा देखाएर कर छली गरेको चिन्ता बढेपछि यी देशहरुले यो ऐतिहासिक सम्झौता गरेका हुन् । यो सम्झौतापछि पनि आलोचकहरुले भने १५ प्रतिशत कर्पोरेट कर एकदमै कम भएको र कम्पनीहरुले यसबाट पनि बच्ने बाटो खोज्ने चिन्ता व्यक्त गरेका छन् । बेलायती अर्थमन्त्री ऋषि सौनकले यो सम्झौतापनि वैश्विक कर प्रणाली अपग्रेड हुने र यो प्रणालीलाई नयाँ दौरको हिसाबले ढाल्न सकिने बताएका छन् । उनले भने ‘अब कम्पनीहरु जहाँ पनि कारोबार गर्नेछन् आफूले तिर्नुपर्ने उचित कर तिर्नेछन् ।’ आर्थिक सहयोग तथा विकास संगठन (ओइसीडी)ले कैयौं दशकदेखि न्यूनतम कर दर तय गर्नको लागि अभियान चलाइरहेको थियो । ओइसीडीका अनुसार यो सम्झौतापछि करको रुपमा कम्तीमा १५० अर्ब डलर प्रतिवर्षका दरले अतिरिक्त धन प्राप्त हुनेछ र यसबाट महामारीबाट उठ्दै गरेका देशको अर्थव्यवस्था बलियो बनाउन सहयोग पुग्नेछ ।
नाक्चेलाग्ना सीमा नाका मिचिएको छैनः अध्ययन टोलीको प्रतिवेदन काठमाडौं ।  एक अध्ययन टोलीले प्रतिवेदन अनुसार नेपालको सीमा छिमेकी देश भारत र चीनले धमाधम मिचिरहेको अवस्थामा मुगु जिल्ला र उत्तरी नाका चीनसँग जोडिएको नाक्चेलाग्ना सिमाना नमिचिएको जानकारी दिएको छ । टोलीले नेपाल र चीनमा रहेको १३ नम्बरको सीमा पिल्लर रहेको नाक्चेलाग्ना सीमा स्तम्भ नमिचिएको बताएको हो । यो स्तम्भ समुद्री सतहदेखि चार हजार ९८६ मिटरको उचायमा अवस्थित छ । सदरमुकाम गमगढी बजारदेखि सीमा नाका सम्म ९२ किलोमिटर छ । पैदल यात्रा गरेर चार दिन लाग्ने यस सीमा नाकासम्म पुगेर अध्ययन गर्दा कुनै पनि सीमा नमिचिएको अध्ययन टोलीको निष्कर्ष छ । गत ३० भदौदेखि ५ असोजसम्म सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद कोइरालाको नेतृत्वमा गएको टोली र नेपाल सशस्त्र प्रहरीले अध्ययन गर्दा र विगतमा गरिएको अध्ययन टोलीको प्रतिवेदनअनुसार नेपाल र चीनसँग जोडिएको नाक्चेलाग्ना स्थानमा रहेको १३ नम्बर पिल्लर र अन्य भूमि नमिचिएको अध्ययन टोलीका प्रमुख सहायक प्रमुख जिल्ला अधिकारी कोइरालाले बताए ।
हुम्लाकै उत्कृष्ट गाउँपालिका बन्यो खार्पुनाथ काठमाडौं । सात गाउँपालिका मध्य हुम्लाका खार्पुनाथ गाउँपालिकाको स्वास्थ्य शाखा उत्कृष्टमा पर्न सफल भएको छ । सेवा प्रवाह, समन्वय, सम्पर्क र प्रतिवेदन तयारीमा उत्कृष्ट काम सम्पादन गरेबापत स्वास्थ्य सेवा कार्यालयले खार्पुनाथको स्वास्थ्य शाखालाई उत्कृष्ट छनोट गरेको हो । गाउँपालिकाले सबै सूचकमा ३७ अंक ल्याएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम बहादुर सिंहले बताएका छन् । कार्यालयका अनुसार खार्पुनाथ गाउँपालिकाका सबै स्वास्थ्य संस्था उपचारमा सहज, प्रभावकारी सेवा प्रवाह, समयमै रिपोर्टिङ, खोप व्यवस्थापन, संस्थागत प्रगति जस्ता सूचकमा अब्बल पाइएकोले उत्कृष्ट ठहरिएको हो । स्वास्थ्य संस्थाहरूको कार्य सम्पादन उच्च र सेवा प्रवाह प्रभावकारी बनाउन कार्यालयले पहिलोपटक सूचक राखेर मूल्यांकन गर्ने परिपाटी बसालेको छ । उत्कृष्ट भएपछि गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक बलिराज शाहीले काम गर्ने थप हौसला मिलेको बताएका छन् । गाउँपालिकाको स्वास्थ्य शाखाले सबै बस्तीमा गाउँघर क्लिनिक, घरदैलो कार्यक्रम, दीर्घरोगीलाई निःशुल्क उपचारको व्यवस्था, ल्याबमा चालीस प्रतिशत छुटको व्यवस्था जस्ता उदाहरणीय कार्यक्रम लागू गरेको छ ।
विद्यालयका शिक्षकले पाएनन् तलब काठमाडौं । शिक्षकले तलवसुविधा नपाएपछि यो वर्षको चाड खल्लो हुने गुनासो गरेका छन् । भैरवी आधारभूत विद्यालयमा विगत १२ वर्षदेखि निजीस्रोतमा पढाइरहेका प्रकाश बुढाले विगत तीन वर्षदेखि तलब नपाएकोले दैनिक गुजारा गर्न निकै समस्या भएको बताएका छन् । उनले अघिल्ला बर्षमा जस्तै यो वर्षको चाड पनि खल्लो हुने बताएका छन् । विज्ञान विषय पढाउँदै आएका बर्दियाका युवराज विष्टले दुई वर्षको पारिश्रमिक नपाएपछि विद्यालयबाट राजीनामा दिएर घर फर्किएको बताए । आफुसँगै तीन शिक्षकले तीन वर्षदेखि तलव नपाएको उनको दुखेसो छ । विगतमा नियमित पाउँदै आएको तलबभत्ता विगत एक वर्षदेखि रोकिएको जय नेपाल आधारभूत विद्यालयका शिक्षक तिलक बुढाले बताए । तलव नपाएपछि धेरै शिक्षकले छाडेर गएको भएपनि स्थानीय भएकाले विद्यार्थीको भविष्य हेरेर आफूले छोड्न नसकेको उनको भनाइ छ । विद्यालय समुदायको स्वैच्छिक शुल्क र अन्य स्रोतबाट सञ्चालन भइरहेकाले निजी स्रोतमा पढाउने शिक्षक तलब बिहीन बन्नु परी रहेको प्रधानाध्यापक रामप्रसाद शर्माले जानकारी दिए।
पानीमा डुबेर युवकको मृत्यु काठमाडौं । पानीमा डुबेर एक युवकको मृत्यु भएको छ । दाङ जिल्ला प्रहरी कार्यालयका अनुसार घोराही उपमहानगरपालिका–६ निवासी २६ वर्षीय गुरुप्रसाद चौधरीको डुबेर मृत्यु भएको हो । आज बिहान घरबाट निस्किएका उनी गाउँ नजिकैको खोलामा बिहान ८ः ३० बजे मृतावस्थामा फेला परेका थिए । प्रहरी प्रमुख सुरेश काफ्लेका अनुसार लामो समयदेखि मृगौला रोगको समस्याले पिरोलिएका उनका बारेमा अनुसन्धान भइरहेको छ ।
प्रतिनिधिसभाको बैठक २५ असोजमा काठमाडौं । प्रतिनिधिसभाको बैठक यही २५ असोजमा बस्ने भएको छ। शुक्रबार बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको अर्काे बैठक २५ असोज सोमबार बस्ने जानकारी दिएका हुन्। शुक्रबारको बैठक संघीय निजामति सेवा विधेयक, २०७५ फिर्ता लिने प्रस्ताव स्वीकृत गरेको छ। साथै बैठकले रेल्वे विधेकय २०७६ फिर्ता लिन राष्ट्रिय सभाको सहमतिको निमित्त प्रतिनिधिसभाको सिफारिस प्राप्त गर्ने प्रस्तावलाई पनि बहुमतले स्वीकृत गरेको छ।
साइकल यात्रीको ज्यान गयो काठमाडौँ ।  सर्लाहीको हरिपुर्वामा ट्याक्टरको ठक्करदिँदा एक साइकल यात्रीको मृत्यु भएको छ । हरिपुर्वा नगरपालिका ९ स्थित सडकमा ज१त ९२७९ नम्बरको ट्याक्टरको ठक्करबाट हरिपूर्वा नगरपालिका ५ बस्ने अन्दाजी ४७ वर्षका पुकार महतोको घटनास्थलमै ज्यान गएको हो । ईश्वरपुरको जंगलबाट सुकेको दाउरा साइकलमा राखेर हरिपूर्वातर्फ आउँदै गरेको ट्याक्टरले महतोलाई पछाडिबाट ठक्कर दिएको हरिपूर्वा प्रहरीले जनाएको छ । घटनालगत्तै भाग्न खोजेका ट्याक्टर चालकलाई स्थानीयले पक्राउ गरेर प्रहरीको जिम्मा लगाएका छन् । तत्काल घटनास्थल पुगेको प्रहरीको टोलीले घटनास्थल नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल मलंगवा पुर्‍याइएको छ भने घटनास्थलमा व्यापक प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।
पहिरोले ३० लाख बराबरको क्षति काठमाडौँ । खत्याड गाउँपालिका ३ माथिखर्कमा बिहीबार बिहान ४ बजे पहिरो गएको छ । पहिरोले साविक गम्था घर भएका रत्नचन्द्र उपाध्यायको घर पूर्ण रूपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । लगातारको वर्षाका कारण बिहीबार पहिरो गएको हो । उपाध्यायको घर बगाएसँगै अन्य क्षतिसमेत भएको जनाइएको छ । पहिरोले उपाध्याको घर जगभन्दा करिब २० मिटर तल पुर्‍याएको छ । मानवीय क्षति भने नभएको प्रहरी नायव उपरीक्षक चित्रबहादुर भट्टराईले जानकारी दिए । पहिरोपीडित उपाध्यायका अनुसार बिहान ४ बजेतिर सुतिरहेको अवस्थामा एक्कासि माथिबाट ढुंगा आएर घर पछाडिको मुख्य भित्तामा लागेको थियो । गोठमा गाईबस्तु पहिरोले पुरिएका छन् । एक गोरु, घरमा राखेको अन्नबाली, केही दिनअघि बैंकबाट ल्याएर बाकसमा राखेको नगद छ लाख रुपैयाँ र सामाजिक सुरक्षा भत्ता, १५ कट्टा धानलगायत पहिरोले बगाएको उनको भनाइ छ । सबै गरेर ३० लाख रुपैयाँको क्षति भएको उपाध्यायले बताए ।
फोन गर्न अग्लो डाँडा उक्लिनुपर्ने पिडा काठमाडौं। हुम्लाको दक्षिणी भेगमा रहेको अदानचुली गाउँपालिकामा नेपाल टेलिकमको टावरले काम नगरेपछि स्थानीय मारमा परेका छन् । अदानचुलीमा रहेको टावरले दैनकी १० घण्टा काम गर्न छाडेपछि सेवाग्राहीहरू डाँडाकाँडा धाउन बाध्य भएका छन् । नेपाल टेलिकमले राखेका दुईवटा र गाउँपालिकाको सिमाना जोडिएको मुगुको सोरुमा राखिएको टावरले काम गर्न छाडेपछि सेवाग्राहीले डाँडाकाँडा धाउन बाध्य भएका हुन् । केही महिनायता तीनवटै टावरले बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म काम गर्न छाडेपछि दिउँसो अग्ला डाँडा र रुख चढ्न बाध्य भएको अदानचुली–२ का सुमन बुढाले गुनासो पोखे । अघिल्लो वर्ष पनि यस्तै समस्या आउँदा दुई महिना लगाएर सबै टावरहरू मर्मत गरिएको थियो । तर, यसवर्ष भने टेलिकमले कुनै ध्यान नदिएको अदानचुली–२ को ढोगर्नामा राखिएको टावरका सुरक्षामा खटिएका चौकीदार नरबहादुर बोगटीले बताए । हरेक वर्ष टावर बनाउन मर्मत टोली आउने गरे पनि समस्या समाधान हुन नसकेको उनले बताए । टावरबाट फोर जि सेवा विस्तार गर्न लागेकोले नेटवर्कमा समस्या देखिएको नेपाल टेलकिमले जनाएको छ । यस क्षेत्रमा नेटवर्कसम्बन्धी समस्या देखिएको चार वर्ष पुगेको छ । तल्लो भेगका स्थानीयले घण्टौँ हिँडेर अग्लो डाडाँबाट फोन सम्पर्कमा जोडिने गरेका छन् ।
९ जना बिचौलिया प्रहरीको फन्दामा काठमाडौं । काठमाडौँ बाहिर जाने यात्रुसँग तोकिएभन्दा बढी भाडा लिन खोज्ने नौ विचौलियालाई आज ट्राफिक प्रहरीको फन्दामा परेका छन् । तोकिएको टिकट काउण्टरमा परिचयपत्र बहाकहरुले मात्र टिकट काट्ने व्यवस्था भए पनि अनाधिकृत व्यक्तिले विचौलिया बनेर यात्रुसँग मोलमोलाई गरि तोकिएको भन्दा बढी भाडा लिँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । विभिन्न टिकट काउण्टरमा आबद्ध भई बिना परिचयपत्र बसपार्क आसपास यात्रुलाई टिकट काटिदिन्छु भनी मोलमोलाई गर्ने भरतपुर चितवनका ३८ बर्षका समिर श्रेष्ठ, धनकुटाका ३० बर्षिय किरण लिम्बु र सुनसारीका २८ बर्षे सविन राई पक्राउ परेका हुन् । त्यस्तै टिकट काउण्टरको कर्मचारी हुँ भन्दै भाडा बार्गेनिङ्ग गर्ने काठमाडौं बस्ने बर्ष ४६ का राज ठकुरी, दाङ घोराहीका २९ बर्षे बिशाल गुरुङ्ग र कैलालीका २९ बर्षे रमेश कठायत गंगबुबाट पक्राउ परेका हुन् । उनीहरूलाई अवश्यक कारबाहीका लागि प्रहरी प्रभाग नयाँ बसपार्कमा बुझाएको महाशाखाले जनाएको छ । त्यसैगरी काठमाडौंको कलंकीबाट बर्ष ३९ को नवीन केसी र बल्खुबाट शुभयात्री काउण्टरमा काम गर्ने निजगढका अरुण मगर र जाजरकोट घर भई कीर्तिपुर बस्ने नारायणी काउण्टरका बर्ष ३७ को बिनोद रानालाईसमेत पक्राउ गरी कारबाहीको लागि प्रहरी वृत्त कालीमाटीमा बुझाएको महाशाखाले जनाएको छ ।
पूजाआजा गर्ने क्रममा आगलागी काठमाडौं ।  जुम्लाको तोतोपानी गाउँपालिका ५ स्थित एक घरमा आगलागी हुँदा एक घरमा क्षति भएको छ । माधवप्रसाद चौलागाईंको तीन तलाको घरमा आगलागी भएको हो । बिहीबार बिहान घरमा पूजाआजा गर्ने क्रममा बालेको दियोबाट आगलागी भएको हुनसक्ने जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईंले बताए । आगलागीबाट लत्ताकपडा अन्नपात सबै नष्ट भएको छ ।
बाग्मती र प्रदेश १ को मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिन सहमत काठमाडौं । सत्ता गठवन्धनका दलहरूबीच नेकपा (एकीकृत समाजवादी)लाई दुईवटा प्रदेशको मुख्यमन्त्री दिने भद्र सहमति भएको छ । संघीय मन्त्रालय बाँडफाँटमा असन्तुष्टि जनाउदै आएको नेकपा (एस)लाई मनाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्तावमा गठबन्धनका दल सो पार्टीलाई बाग्मती र प्रदेश १ को मुख्यमन्त्री दिन सहमत भएका हुन् । बिहीवार बालुवाटारमा बसेको सत्ता गठवन्धन दलका शीर्ष नेताको बैठकमा संघीय मन्त्रालय बाँडफाँटमा धेरै ढिलाइ भएको भन्दै यसअघि बनेको सहमति कायम राख्दै नेकपा (एस)लाई दुईवटा मुख्यमन्त्री दिएर मनाउने सहमति भएको माओवादी केन्द्रका एक नेताले बताए । ‘माधवजीले असन्तुष्टि राख्नुभयो, प्रचण्डजीको प्रस्तावमा दुईवटा मुख्यमन्त्री लैजानुहोस्, अन्यत्रको नियुक्तिमा पनि हेरौँला र छलफल गरा्रँला भनेपछि माधवजी सल्लाह गर्छु भनेर निस्कनुभएको छ,’ ती नेताले भने । नेपाल गठबन्धन बैठक छाडेर पार्टीको स्थायी कमिटी बैठकस्थल पुगेका छन् । जहाँ उनले संघीय र प्रदेश मन्त्रिपरिषद् विस्तार र हेरफेरका विषयमा सल्लाह र निर्णय लिने बताइएको छ । नेकपा एसको भागमा मुख्यमन्त्री परेका दुईवटा प्रदेशमा गठबन्धन दलको बहुमत छ ।