content
stringlengths
31
27.4k
उच्च पहाडी र हिमाली भू–भागमा हिमपातको सम्भावना काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आगामी तीन दिन देशभर बदली हुनाका साथै उच्च पहाडी तथा हिमाली भागमा हिमपात हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा पश्चिमी वायुसँगै पश्चिमी न्यून चापीय प्रणाली (पश्चिमी ट्रफ) र अरब सागरमा बनेको न्यून चापीय क्षेत्र (कम दबाब प्रणाली) को चापका कारण बदलीसँगै ती स्थानमा हिमपातको सम्भावना देखिएको हो ।यो क्रम आगामी शनिबारसम्म कायम रहने भएको छ । हाल देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भागमा आंशिकदेखि सामान्य बदली भएको छ । दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा वाग्मती प्रदेशका पहाडी भागमा हल्कादेखि मध्यम वर्षा हुनाका साथै ती प्रदेशका उच्च पहाडी र हिमाली भागका धेरै स्थानमा माध्यमदेखि भारी हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भोलि देशभर सामान्यदेखि पूर्णतया बदली रही कर्णाली, लुम्बिनी तथा वाग्मती प्रदेशका पहाडी भागमा हल्कादेखि मध्यम वर्षा र उच्च पहाडी र हिमाली भागको केही स्थानमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको औँल्याइएको छ ।मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आठ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २२ दशमलव चार डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम पाँच दशमलव शून्य डिग्री र सबैभन्दा धेरै भैरहवाको अधिकतम तापक्रम ३० दशमलव शून्य डिग्री सेल्सियस रहेको छ ।
सहरमा माग बढेपनि गाउँमा कोदोखेती घट्दै काठमाडौं।म्याग्दीमा बर्सेनि कोदोखेती गर्ने क्रम घट्दै गइरहेको छ । केही समय पहिलेसम्म मालिका, मङ्गला, रघुगङ्गा, अन्नपूर्ण, धौलागिरि र बेनी नगरपालिकाका सबै गाउँमा प्रशस्त कोदोखेती हुन्थ्यो । आजभोलि कोदोखेतीप्रति किसानको मोह घट्दै गएको छ । जिल्लाका किसानले लगाएको कोदो प्रशस्तै मात्रामा फल्ने गरेको थियो । उत्पादन धेरै भए पनि बिक्री हुन छाडेपछि किसान कोदो खेतीप्रति निरुत्साहित हुँदै गएका हुन् । कोदोका परिकारको विविधिकरण र बजारीकरणमा देखिएको समस्याले किसान कोदो खेतीप्रति आकर्षित हुन छाडेका उनीहरु बताउँछन् । ग्रामीण क्षेत्रको जमिन कोदो खेतीका लागि निकै उपयुक्त मानिन्छ । त्यहाँका किसानले कोदोखेतीलाई भने उपयुक्त मान्न छाडेका छन् । त्यसैले अहिले कोदोका लागि योग्य जमिन त्यसै बाँझै छाडेका छन् । कोदोमा मानव स्वास्थ्यको लागि अत्यावश्यक पौष्टिक तत्व भरपुर मात्रामा पाइन्छ । जसकारण बेनी, पोखरा, काठमाडौँलगायतका सहरी क्षेत्रमा कोदोको माग बढ्दै गएको छ । बजारसम्म पहुँच नभएपछि कोदोबारी बाँझै छाड्न किसान बाध्य भएका हुन् । कोदोखेती विस्तार र संरक्षणमा सम्बन्धित निकायले खासै ध्यान नदिएको किसानको आरोप छ । प्रदेश र स्थानीय सरकारले समेत स्थानीय उत्पादनको बजार व्यवस्थापन र व्यावसायिकरणका लागि कुनै योजना नै बनाएको छैन । म्याग्दीका ६ वटै स्थानीय तहमा कोदोको राम्रो उत्पादन हुन्छ । थोरै बिउमा समेत धेरै उत्पादन गर्न सकिने कोदो पाखो जमिनमा लगाउने गरिन्छ । अहिलेसम्म व्यावसायीक रुपमा कोदोखेती गर्ने किसान छैनन् । खानका लागि मात्र उत्पादन गरिने गरेको छ । उर्वर माटोका कारण थोरै बिउमा रोपिए पनि कोदो धेरै फल्छ । खाएर मात्रै सकिँदैन । बेच्ने बजार नै छैन । भएको बजारसम्म पुग्न र पुर्‍याउन यातायातको सुविधा नहुँदा कोदो खेतीप्रति आकर्षण घटेको देवीस्थानका इन्द्रमाया फगामीले बताए ।
सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो बिहीबार सुनको मूल्य स्थिर रहेको छ । बुधबार ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज सोही मूल्यमा कारोबार भइरहेको छ । यस्तै, तेजाबी सुनको मूल्य पनि  बुधबारकै मूल्य कायम हुँदै  ९१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ । यता चाँदीको मूल्यमा भने घटेको छ । चाँदी प्रतितोलामा १० रुपैयाँले घट्दै एक हजार १९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार बजारमा चाँदी प्रतितोला एक हजार २०० रुपैयाँ कारोबार भएको थियो ।
वर्षा र भारी हिमपातले चिसो बढ्ने, प्राधिकरणले दियो यस्तो चेतावनी काठमाडौं।पश्चिमी वायुसँगै आएको पश्चिमी न्युन चापीय प्रणाली र अबर सागरमा बनेको न्यून चापीय क्षेत्रका कारण नेपालमा मौसम प्रतिकूल बन्दै गएको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार पश्चिम नेपालबाट प्रवेश गरेको यो प्रणालीले त्यस क्षेत्रमा बदली कायम गर्नुका साथै उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको छ । यो प्रणालीले सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनीका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हिमपात हुने आँकलन महाशाखाले गरेको छ । आज मुलुकका धेरै क्षेत्रमा बदली रहेको छ, यसले तराई र पहाडी भूभागमा वर्षा पनि हुने ठानिएको छ ।काठमाडौंमा बिहान घाम लागे पनि बदलीले ढाक्दै गएको छ । हिमपात र वर्षाका कारण जाडो झन बढ्न सक्ने भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सचेतना अपनाउन भनेको छ ।प्रवक्ता डिजन भट्टराईले जारी गरेको प्रेस नोटमा मौसम प्रतिकुल भएर पर्वतारोहण, हवाइ र यातायातसहित दैनिक जनजीवन प्रभावित हुनसक्ने चेतावनी दिइएको छ । ‘हिमाली भूभागमा हिमपहिरोसहित अत्यधिक चिसो बढ्ने, पहाडी र तराईका भूभागमा वर्षासहित चिसोको जोखिम रहेकाले सतर्कता अपनाउन प्राधिकरणले भनेको हो । योसँगै तराईमा शितलहर चल्न सक्ने आँकलन गरिएको छ ।
रिपोर्टिङमा गएका सञ्चारकर्मीमाथि हातपात काठमाडौँ ।सोलुखुम्बुको सल्लेरीमा रिपोर्टिङका क्रममा सञ्चारकर्मीमाथि हातपात भएको घटनाप्रति विभिन्न सङ्घ सङ्गठनले आपत्ति जनाउँदै विज्ञप्ति जारी गरेका छन् । घटनाको विषयमा सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा सोलुखुम्बु, पत्रकार महासङ्घ प्रदेश नं १, प्रेस सेन्टर प्रदेश नं १, जिल्ला शाखासहितले विज्ञप्ति जारी गरेका हुन् । यस्तै सोलु एफएमले समेत विज्ञप्ति जारी गर्दै दोषीलाई तत्काल कारबाही गर्न माग गरेको छ भने पीडित पत्रकारले जाहेरी दरखास्त दिएको बताएका छन् । नेपाली कांग्रेसको जिल्ला कार्यसमिति सभापतिका लागि मङ्गलबार सम्पन्न दोस्रो चरणको निर्वाचनमा रिपोर्टिङमा गएका उज्यालो अनलाइनका जिल्ला संवाददातासमेत रहेका सोलु एफएमका समाचार सहायक सुवास दर्नाल र सोलु एफएममै कार्यरत रमन वनमाथि हातपात भएको थियो । हातपात गर्नेमा नेपाल विद्यार्थी सङ्घका जिल्ला उपाध्यक्ष जीवन बस्नेत, क्षेत्रीय प्रतिनिधि प्रदीप बस्नेत, नेविसङ्घ माप्यदूधकोशी अध्यक्ष विभूषण राईको समूह रहेको पत्रकार दर्नालले बताए । मतगणनास्थल बाहिर स्थलगत रिपोर्टिङमा रहेका सञ्चारकर्मीमाथि आफ्नो अन्तरवार्ता लिन धम्की दिँदै आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन् । आक्रमणबाट रिपोर्टिङमा प्रयोग गरिएको माइक, रेकर्डरसहितका सामग्रीमा समेत क्षति पुगेको छ । रिपोर्टिङका क्रममा पत्रकारमाथि यसरी आक्रमण भएको जिल्लामा पहिलो घटना हो । यता जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले भने दोषीउपर कानूनी कारबाहीको प्रक्रिया तत्काल अघि बढाउने जनाएको छ ।
गोलाप्रक्रियाबाट पेसीको पहिलो दिन : भएन उत्साहप्रद सुनुवाइ काठमाडौँ । नेपालको न्यायालयको इतिहासमा पहिलोपटक सर्वोच्च अदालतमा गोलाप्रक्रियाबाट आजदेखि मुद्दाको पेसी तोकी सुनवाइ प्रारम्भ गरे पनि उत्साहप्रद सुनुवाइ भएको देखिएन । उक्त प्रक्रियाबाट सर्वोच्च अदालतमा ११ वटा इजलास गठन भएका थिए । तीमध्ये संयुक्त नौवटा र एकल दुईवटा इजलास गठन भएका छन् । न्यायाधीश हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको संयुक्त इजलासमा सबैभन्दा कम एक थान मुद्दा तोकिएको थियो । त्यसमा बेन्च नबसेको जनाइएको छ । न्यायाधीश अनिलकुमार सिन्हा र कुमार रेग्मीको संयुक्त इजलासमा सबैभन्दा बढी ४३ थान मुद्दामा पेसी तोकिएको छ । एउटा मुद्दामा अन्य आदेश भएको छ । अरु कुनै पनि मुद्दामा सुनुवाइ भएको छैन । न्यायाधीश दीपककुमार कार्की र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासमा १६ थान मुद्दामा पेसी तोकिएको थियो । एउटा मात्र मुद्दामा सुनुवाइ गरिएको छ । न्यायाधीश हरिकृष्ण कार्की र सुष्मालता माथेमाको संयुक्त इजलासमा २८ थान मुद्दामा पेसी तोकिएको थियो तर उक्त बेच्न नबसेकोे जनाइएको छ ।न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ र बमकुमार श्रेष्ठको संयुक्त इजलासमा १५ थान मुद्दामा पेसी तोकिएकोमा एक थान मात्र हेरिएको छ । न्यायाधीश डा आनन्दमोहन भट्टराई र डा मनोजकुमार शर्माको संयुक्त इजलासमा १५ थान मुद्दा थियो तर सुरुबाटै हेर्न नभ्याइनेमा छ । न्यायाधीश प्रकाशमान सिंह राउत र हरिप्रसाद फुयालको संयुक्त इजलासमा १७ थान मुद्दामा पेसी तोकिएकोमा कुनै पनि मुद्दामा सुनुवाइ भएन । न्यायाधीश सपना प्रधान मल्ल र प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलासमा १९ थान मुद्दा तोकिएकोमा एउटामा फाइल झिकाउने निर्णय गरेको छ । न्यायाधीश तेजबहादुर केसी र नहकुल सुवेदीको इजलासमा २० थान मुद्दामा पेसी तोकिएको थियो । तीन थान मुद्दामा सुनुवाइ भएको छ । त्यस्तै, एकल इजलासमा न्यायाधीश मीरा खड्काको एकल इजलासमा १६ थान मुद्दामा पेसी थियो । उक्त इजलासमा बेन्च नबसेको जनाइएको छ । न्यायाधीश कुमार चुडालको एकल इजलासमा १५ थान मुद्दामा पेसी तोकिएको थियो । त्यहाँ थान मुद्दामा सुनुवाइ भएको छ । एघार इजलासमा २१७ मुद्दा सुनुवाइका लागि पेसी तोकिएको थियो । त्यसमध्ये जम्मा तीन मुद्दामा फैसला भएको छ । अधिकाश मुद्दा हेर्न नभ्याउने र बेन्च नबसेको भनेर जनाइएको छ । एक महिनाभन्दा लामो समयदेखि अदालतमा मुद्दाको सुनुवाइ प्रभावित भएको छ । गोलाप्रक्रियाबाट पेसी व्यवस्थापन भएपछि सबै मुद्दाको प्रभावकारी सुनुवाइ हुने विश्वास गरिए पनि इजलासमा उत्साहप्रद सुनुवाइ पहिलो दिन नै देखिएन ।
एकै परिवारका तीनजना मृतावस्थामा फेला काठमाडौं।तामाकोशी गाउँपालिका–२ झुलेमा एकै परिवारका तीनजना सुतेकै अवस्थामा गएराति मृत फेला परेका छन् । मृत अवस्थामा फेला पर्नेमा अन्दाजी २७ वर्षीय श्याम तामाङ, उनकी श्रीमती अन्दाजी २६ वर्षीया अम्बिका तामाङ र उनका पाँच वर्षीय नाबालक छोरी रहेको छौंडे प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक विष्णु दाहालले जानकारी दिए । झ्यालबाट नियाल्दा तीनैजना मृत अवस्थामा देखिएकाले घटनास्थललाई सुरक्षित राखिएको उनले बताए। घटनाको बारेमा आज बिहान स्थानीयवासीले दिएको सूचनाका आधारमा प्रहरीचौकी छौंडेबाट घटनास्थलमा पुगेका प्रहरी टोलीले आवश्यक अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय चरिकोटका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए। मृतकमध्ये अम्बिका पाँच दिनकी सुत्केरी रहेकीले कोइला बालेर सुतेको हुनाले झ्याल ढोका बन्द भएको अवस्थामा निसास्सिएर उनीहरुको मृत्यु भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।
नियुक्तिको केही घण्टामै राजीनामा दिएकी प्रथम महिला प्रधानमन्त्री ५ दिनमै फेरि नियुक्त काठमाडौं। स्वेडेनको पहिलो महिला प्रधानमन्त्रीको रुपमा नियुक्त भएको केही घण्टामै बल्पमतमा परेर राजीनामा दिन बाध्य पारिएकी म्याग्दालेना एन्डरसन फेरि प्रधानमन्त्री पदमै नियुक्त भएकी छिन् । स्वेडेनका सांसदहरुले सोसियल डेमोक्रेटिक पार्टीकी नेतृ एन्डरसनलाई पुनः समर्थन गरेका छन् । बीबीसीका अनुसार उनले सोमबार भएको मतदानमा साँघुरो मतान्तरले प्रधानमन्त्रीको निर्वाचन जितेकी छिन् । अब उनले आगामी सेप्टेम्बरमा हुने निर्वाचनसम्म आफ्नो एकदलीय सरकारको नेतृत्व गर्ने प्रयास गर्नेछिन् । गत बुधबार उनको गठबन्धन भत्किएपछि उनले नियुक्त भएको केही घण्टामै प्रधानमन्त्री पदबाट राजीनामा दिएकी थिइन् । त्यसको केही समयअघि मात्रै एन्डरसन एक मतको अन्तरले स्वेडेनको पहिलो महिला प्रधानमन्त्री नियुक्त भएकी थिइन् । ५४ वर्षीय अर्थशास्त्री एन्डरसनले ग्रिन पार्टीसँग गठबनधन बनाएर अगाडि बढ्ने योजना बनाएको भए पनि उनको बजेट प्रस्ताव फेल भएपछि उनी अल्पमतमा परेकी थिइन् । पार्लियामेन्टले फार राइट स्वेडेन डेमोक्रेटसहित विपक्षी दलहरुको समूहले तयार पारेको बजेट प्रस्तावको पक्षमा मतदान गरेको थियो । तर, ग्रिन पार्टीले फार राइट पक्षले ड्राफ्ट गरेको बजेट स्वीकार नगर्ने भन्दै सरकारलाई समर्थन नगरेपछि एन्डरसनले राजीनामा दिनु परेको थियो । स्वेडेनमा गठबन्धनको कुनै दलले सरकार छाडेमा प्रधानमन्त्रीले राजीनामा दिने अपेक्षा गरिन्छ । सोमबार भएको मतदानमा स्वेडेनको संसदका ३४९ सदस्यमध्ये १०१ ले एन्डरसनको पक्षमा मतदान गरे, ७५ जना अनुपस्थित रहे र १७३ जनाले विपक्षमा मतदान गरे । स्वेडेनको संविधानअनुसार प्रधानमन्त्री नियुक्त हुनको लागि कूल सांसद संख्याको बहुमतले विपक्षमा मतदान नगरिदिए पुग्छ । विपक्षमा मतदान गर्ने १७३ सांसद ३४९ को बहुमत पुग्दैन । निर्वाचनपछि एक पत्रकार सम्मेलनमा एन्डरसनले आफू कल्याण, जलवायु परिवर्तन र अपराधमा केन्द्रित कार्यक्रमको साथमा स्वेडेनलाई अगाडि लिएर जान तयार भएको बताइन् । प्रधानमन्त्रीमा नियुक्त भए पनि उनलाई अन्य पार्टीको साथबिना संसदमा विधेयक पारित गराउन संघर्ष गर्नुपर्नेछ किनकि ३४९ सदस्यीय संसदमा उनको सेन्टर लेफ्ट सोसियल डेमोक्रेटको १०० सिट मात्र छ ।
आज बेलुकादेखि हिमपातको सम्भावना काठमाडौं। नेपालमा पश्चिमी वायुसँगै न्यूनचापीय प्रणाली (पश्चिमी ट्रफ) र अरब सागरमा बनेको न्यूनचापीय क्षेत्र (कम दबाब प्रणाली)को प्रभावले आगामी तीन दिन हिमपातको सम्भावना देखिएको छ ।जल तथा मौसाम विज्ञान विभागले एक विशेष बुलेटिन निकालेर उक्त प्रणालीका कारण आज बेलुकादेखि देशका सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशका उच्च पहाडी तथा हिमाली भ–ूभागका धेरै स्थानमा मध्यमदेखि भारी हिमपात हुने सम्भावना देखिनाका साथै उक्त प्रदेशका पहाडी तथा तराईका केही भूभागमा फाटफुटदेखि हल्का वर्षाको समेत सम्भावना रहेको जनाएको छ । यी प्रणालीका कारण आगामी दिनमा तापक्रममा गिरावट आई चिसो बढ्नसक्ने सम्भावना रहेको बताइएको छ । विभागले यस मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई÷यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्नसक्ने देखिएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।आगामी आइतबार साँझदेखि पुनः अर्को पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव देशमा पर्नसक्ने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम छ दशमलव तीन डिग्री र अधिकतम तापक्रम २१ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ ।त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस दुई दशमलव शून्य डिग्री र सबैभन्दा धेरै भैरहवाको अधिकतम तापक्रम ३० दशमलव शून्य डिग्री सेल्सियस रहेको छ ।
प्रधानसेनापति शर्माद्वारा बाहिनीको निरीक्षण काठमाडौँ ।प्रधानसेनापति प्रभुराम शर्माले तनहुँको खैरेनीटारस्थित श्री नम्बर ३ बाहिनीको निरीक्षण गरेका छन् । मध्यकमाण्ड अन्तर्गतका हिमाली र उच्च पहाडी इलाकामा अवस्थित युनिटको भ्रमणको सिलसिलामा प्रधानसेनापति शर्माले आज खैरेनीटारस्थित बाहिनीको निरीक्षण गरेका हुन् । सो क्रममा प्रधानसेनापति शर्माले बाहिनीमा तैनाथी फौजको वर्तमान अवस्था, जिम्मेवारी इलाकामा कमाण्ड अवधारणाको कार्यान्वयनसम्बन्धी प्रगति तथा सामूहिक तालिम सञ्चालनको अवस्थालगायत विषयमा जानकारी लिएका छन् । साथै शर्माले सकलदर्जालाई सम्बोधनसमेत गरेका थिए। प्रधानसेनापति शर्माले तीन दिनदेखि मध्यकमाण्ड हेडक्वाटरअन्तर्गतका विभिन्न युनिटको निरीक्षण गरेका नेपाली सेनाले जनाएको छ ।
गोलाप्रथा प्रक्रियाबाट पेसी तोक्ने कार्यको बारद्वारा स्वागत काठमाडौँ ।नेपाल बार एशोसिएशनले यही मङ्सिर १५ गतेदेखि सर्वोच्च अदालतमा गोलाप्रथा प्रक्रियाबाट पेसी तोकी मुद्दाको सुनुवाइ गर्ने कार्यको स्वागत गरेको छ । बारको सोमबार बसेको बैठकले उक्त कार्यको स्वागत गर्दै जिल्ला, उच्च र विशेष अदालतमा पनि गोलाप्रथा प्रक्रियाबाट पेसी तोकी मुद्दाको सुनुवाइ गर्ने व्यवस्था गर्न माग गर्ने निर्णय गरेको छ । बारका महासचिव अधिवक्ता लीलामणि पौडेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा सर्वोच्च अदालतमा गत साउन १७ र जिल्ला, उच्च, विशेषमा यही मङ्सिर १ गतेदेखि लागू गर्ने भनिए पनि सोअनुसार नभएकाले सर्वोच्च अदालत नियमावली संशोधन गरी लागू गर्न सर्वोच्च अदालतको पूर्ण बैठकसँग माग गर्ने निर्णय गरिएको उल्लेख छ । उक्त नियमावली संशोधन भई नआएसम्म विरोधस्वरुप जिल्ला, उच्च तथा विशेष अदालतमा कालोपट्टी बाँधी दैनिक एक घण्टा धर्ना गरी बाँकी समयमा व्यवसाय गर्न, गराउन सम्पूर्ण एकाइलाई लेखी पठाउने बारले निर्णय गरेको छ ।
राखेपका नवनियुक्त सदस्य सचिवको पदभार ग्रहण काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्य सचिव टङ्कलाल घिसिङले आज पद तथा गोपनियताको शपथ लिएका छन् । युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले सिंहदरबारस्थित मन्त्रालयमा घिसिङलाई शपथ गराएका हुन् । मन्त्री गहतराजले खेलकुद परिषद्ले राजनीतिभन्दा पनि खेलाडीको हकहितमा रहेर काम गर्नुपर्ने उल्लेख गर्दै खेलाडीको मनोबल उच्च बनाउन आफूले सक्दो प्रयास गर्ने बताए। मन्त्रिपरिषद्को सोमबारको बैठकले घिसिङलाई सदस्य सचिव पदमा नियुक्त गरेको थियो । उनी चार वर्षका लागि नियुक्त भएका हुन् । घिसिङ नेपाल रग्बी सङ्घका अध्यक्ष थिए । उनले आजै राखेपमा पनि पदभार ग्रहण गर्ने छन् । राखेपका नवनियुक्त सदस्य सचिव घिसिङले राष्ट्रिय टोलीको सुधारलाई जोड दिने जनाउँदै अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाललाई कसरी सफलता दिलाउन सकिन्छ, त्यस विषयमा विशेष ध्यान दिने बताए । उनले राष्ट्रिय टिम निर्माणका लागि आवश्यक तयारी रोकिएको र त्यसलाई सञ्चालन गर्ने तथा खेलाडीलाई बीमा गर्ने ठोस नीति कार्यक्रम नभएकाले यसलाई अगाडि बढाउने निर्णयसमेत आफूले गर्ने तयारी गरेको सुनाए । राष्ट्रिय खेलकुद विकास ऐन २०७७ लागू भएयता छनोटबाट नियुक्त हुने घिसिङ दोस्रो सदस्य सचिव हुन् । यसअघि गत वर्ष असारमा ऐन लागू भएपछि रमेश सिलवाल पहिलो सदस्य सचिवका रुपमा नियुक्त भएका थिए ।
इन्टरपोलको महासभामा भागलिई प्रहरी प्रमुख थापा स्वदेश फिर्ता काठमाडौँ ।प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) को ८९औं महासभामा सहभागी भई मंगलबार स्वदेश फिर्ता भएका छन् ।  उक्त महासभामा सहभागी प्रहरी अतिरिक्त महानिरीक्षक प्रद्युम्नकुमार कार्की र प्रहरी उपरीक्षक सबिन प्रधानसमेत स्वदेश फिर्ता भएका हुन् । उनीहरुलाई प्रहरी अतिरिक्त महानिरीक्षक निरजबहादुर शाही, प्रहरी नायब महानिरीक्षकलगायत वरिष्ठ प्रहरी अधिकृतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थमा स्वागत गरे । ८९औँ महासभामार्फत दी फेडेरेटेड स्टेट्स अफ माइक्रोनेसियाले १९५औँ सदस्य राष्ट्रका रुपमा नयाँ सदस्यता प्राप्त गरेको छ । इन्टरपोलको ९०औँ महासभा भारतको नयाँ दिल्लीमा आयोजना हुने निर्णय भएको र चालु महासभाले ९१औँ महासभा अस्ट्रियाको राजधानी भियनामा आयोजना गर्ने निर्णय गरेको छ । महासभाले इन्टरपोल अध्यक्षमा युएईका अहमद नासिर अल रैसी अफ्रिका महादेशका लागि उपाध्यक्षमा नाइजेरियाका गार्बा बाबा उमर र अमेरिका महादेशका लागि ब्राजिलका भाल्डेसी उरक्विजा सहित नौजना कार्यकारी सदस्यहरू मनोनयन गरेको छ । महासभामा सहभागी १९५ इन्टरपोल सदस्य राष्ट्रका प्रमुख तथा प्रतिनिधिले इन्टरपोलको कार्यकारी समितिसम्बन्धी कानुनी व्यवस्था, इन्टरपोलको रणनीतिक योजना (२०२२–२०२५) कार्यक्रम तथा बजेट, कार्यनीति तथा रणनीति साझेदारी, बालबालिकाविरुद्धका अपराध, विद्युतीय अपराध, आतङ्कवाद, मानव बेचबिखन जस्ता अपराधलगायत विविध विषयमा छलफल भई महत्वपूर्ण प्रस्तावहरु पारित गरेको छ ।
दोस्रोपटक संशोधन भयो निर्वाचन कार्यतालिका, मतदान राति २ बजे सौराहा । नेकपा एमालेको केन्द्रीय निर्वाचन समितिले दोस्रोपटक निर्वाचन कार्यतालिका संशोधन गरेको छ । दशौं राष्ट्रिय महाधिवेशनअन्तर्गत निर्वाचनबाट नेतृत्व चयन गर्न आइतबारदेखि नै निर्वाचन कार्यतालिका सार्वजनिक गरेको समितिले पहिलो दिन नै मनोनयन स्थगित गरेर कार्यतालिका संशोधन गरेको थियो । १२ बजे अन्तिम नामावली सार्वजनिक गरेर राति ९-३ बजेसम्म मतदान गर्ने तालिका बनाएको थियो । उक्त कार्यतालिका आज दोस्रो दिन सोमबार अबेर राति संशोधन भएको हो । उम्मेदवारीलाई साँघुरो बनाउन समय लागेकाले कार्यतालिका संशोधन भएको निर्वाचन समिति प्रमुख बिजय सुब्बाले जानकारी दिए । १२ बजे सार्वजनिक हुने भनिएको अन्तिम नामावली संशोधित कार्यतालिकाअनुसार सवा १० बजे सार्वजनिक गरेको छ । अब उम्मेदवारको संख्याअनुसार मेसिन सेट गरेर राति २ बजे विद्युतीय मतदान हुने कार्यतालिका तय भएको छ । एमाले केन्द्रीय कमिटीमा पदाधिकारीसहित १० पदमा १२ जनाको बागी उम्मेदवारी परेको छ ।
अध्यक्षमा मनोनयन पत्र दाखिला गर्छु, ध्वनि मत स्वीकार्य छैनः भीम रावल काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष डा. भीमबहादुर रावलले दशौं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । केन्द्रीय निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेर मनोनयनका लागि आह्वान गरेका बेला सञ्चारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष रावलले केही बेरमा अध्यक्षमा मनोनयन पत्र दाखिला गर्ने बताए । अध्यक्षमा लड्नका लागि यसअघि पनि राजनीति निर्णय गरिसकेको उनले जानकारी गराए । उनले आफूसँग कसैले सहमतिबारे केही कुरा नगरेको उनले स्पष्ट पारे । रावलले ध्वनि मत, हाते मत आफूलाई स्वीकार्य नहुने चेतावनी दिए । ‘गोप्य निष्पक्ष र मतदान हुनुपर्छ । दबाब र प्रभावबाट मुक्त भएर मतदान हुनुपर्छ,’ उनले भने ।
बाघको आक्रमणबाट एकको मृत्यु काठमाडौँ ।बर्दियामा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । आक्रमणबाट गेरुवा गाउँपालिका–४ राजीपुरका ६२ वर्षीया कालुराम थारुको मृत्यु भएको हो । आइतबार साँझ घर नजिकै मध्यवर्ती वनक्षेत्रमा गोठालो गएको बेला पाटेबाघले आक्रमण गरेको बर्दियाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए। बाघको आक्रमणबाट बर्दियामा गत आर्थिक वर्षदेखि अहिलेसम्म १५ जनाको मृत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ ।
सर्लाहीमा एकै परिवारका तीन जना मृत भेटिए काठमाडौँ ।सर्लाहीको बरहथवा नगरपालिका–१ हजरियामा एकै परिवारका तीन जना मृत भेटिएका छन् । मृत भेटिनेमा आमा र उनका दुई छोराछोरी छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण प्रसाईंका अनुसार कविता हजारी घरभित्रै झुण्डिएको अवस्थामा तथा उनकी ६ वर्षीया छोरी र चार वर्षीय छोरा भुइँमा लडेको अवस्थामा भेटिएका हुन् । घटनाबारे अनुसन्धान भइरहेको छ । तीनै जनाको शव परीक्षणका लागि जिल्ला अस्पताल मलङ्गवा ल्याइएको छ ।
बाढीपहिरो पीडितलाई आर्थिक सहयोग मनाङ ।हिमाली जिल्ला मनाङका बाढीपहिरो पीडितलाई राहतस्वरूप रकम वितरण गरिएको छ । गण्डकी प्रदेश आर्थिक मामिला मन्त्रायलले यहाँका बाढीपहिरो पीडितलाई घर निर्माणका लागि रकम हस्तान्तरण गरेको हो । प्रतिघरधुरीलाई रु दुई लाखका दरले मनाङका ७४ घरधुरीलाई राहत रकमस्वरूप घर बनाउन उक्त रकम वितरण गरिएको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार प्रतिघरधुरी रु दुई लाखका दरले रु एक करोड ४८ लाख विशेष राहतअन्तर्गत रकम वितरण गरिएको छ । “बाढीपहिरोबाट पूर्ण क्षति पुगेका घर परिवारका लागि राहतस्वरूप रकम वितरण गरिएको हो । आंशिकरूपमा क्षति पुगेका घर परिवारलाई राहत दिने विषयमा टेवल हुन बाँकी रहेकाले पूर्ण क्षति पुगेका घर परिवारलाई मात्र यो विशेष प्याकेजका रूपमा राहत वितरण गरिएको छ”, प्रजिअ आचार्यले भने । पूर्ण क्षति पुगेका घर परिवारलाई प्रदेश आर्थिक मामिलामन्त्री रामजी बरालले आज बाढीपहिरोले क्षति पुगेको स्थलमा पुगेर राहत हस्तान्तरण गरेका छन् । सो अवसरमा उनले विशेष प्याकेजका रूपमा प्रदान गर्ने भनेर घोषणा गरिएको रकम वास्तविक बाढीपहिरो पीडितसमक्ष पुर्‍याउने लक्ष्यका साथ प्रदान गरिएको बताए । उाले विशेष प्याकेजको यो रकमले घरबार पूर्ण क्षति भएका परिवारलाई राहत पुग्ने विश्वास लिए । ढिलै भए पनि यहाँका जनताको घाउमा मलम लगाउने कार्य गरिएको उनले बताए । पर्यटकीय क्षेत्र मनाङको कोरोनासँगै बाढीपहिरोले क्षति पुर्‍याउँदा प्रदेशको आर्थिकस्तरमा प्रभाव पारेको उाको भनाइ थियो । यसको विकासका लागि सरकार प्रदेश सरकार प्रतिबद्ध रहेको उाको भनाइ थियो । तत्काल राहत पुर्‍याउन मुस्किल भए पनि ढिला गरी बाढीपहिरो समक्ष पु¥याउन सकिएको उनले बताए। प्रदेशसभा सदस्य चिन्ताबहादुर घलेले पर्यटन, सामुदायिक आवास, निजी आवासलगायत विभिन्न किसिमका क्षेत्रमा क्षति पुगेकाले सहयोगका लागि प्रदेश सरकार लागिपरेको बताए। उनले मनाङको क्षतिको पूर्ति गर्नका लागि आवश्यक स्रोतको खोजी कार्य भइरहेको बताए । बाढीपहिरोका कारण मनाङको पर्यटकीय क्षेत्रमा जति पर्यटक भित्रिनुपर्ने हो, त्यति मात्रामा भित्र्याउन नसकिएको उनको भनाइ थियो । यस जिल्लाको मुख्य आम्दानी नै पर्यटन क्षेत्र भएकाले यसलाई उठाउने कार्यमा लाग्न आवश्यक रहेकोले प्रदेश सरकार पनि लागि परेको घलेले बताए ।
सरकारले नेपाल स्याटेलाइट प्रालिलाई दिएको अनुमतिपत्र खारेज काठमाडौँ । सरकारले नेपाल स्याटेलाइट प्रालि (हेलो नेपाल) लाई दिएको अनुमतिपत्र खारेज गरेको छ ।शुक्रबार बसेको नेपाल दूरसञ्चार प्राधिकरण सञ्चालक समितिको बैठकले बक्यौता रकम भुक्तानी नगरेको भन्दै हेलो नेपाललाई दिइएको अनुमतिपत्र खारेज गर्ने निर्णय गरेको हो । असार मसान्तसम्म तोकिएको बक्यौता रकम भुक्तानी नगरेपछि गत कात्तिक ५ गते बसेको बोर्ड बैठकले हेलो नेपालसँग भुक्तानीको विषयमा जानकारी माग गर्ने निर्णय गरेको थियो ।बोर्डको निर्णयअनुसार प्राधिकरणले १५ दिनभित्र जवाफ दिने गरी कात्तिक १२ गते कम्पनीसँग स्पष्टीकरण सोधेको थियो ।कात्तिक २२ गते हेलो नेपालले जवाफ पठाउँदै मन्त्रिपरिषद्बाट निर्धारित किस्ता रकम तिर्न थप समय माग गरेको भन्दै प्राधिकरणले पुनः अनुमतिपत्र खारेजीको निर्णय गर्न नसक्ने स्पष्टीकरण पेस गरेको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए । उनका अनुसार कम्पनीले पठाएको पत्रको चित्तबुझ्दो जवाफ नआएपछि २०७६ को पुसमा मन्त्रिपरिषद्ले गरेको निर्णयलाई आधार बनाएर शुक्रबारदेखि नै लागू हुने गरी अनुमतिपत्र खारेजीको निर्णय गरिएको हो ।बोर्डले दूरसञ्चार ऐन २०५३ को दफा २८ को उपदफा ९३० बमोजिम शुक्रबारदेखि नै लागू हुने गरी अनुमतिपत्र खारेज गर्ने निर्णय भएको जनाएको छ ।कम्पनीले प्राधिकरणलाई फ्रिक्वेन्सी शुल्क, रोयल्टी, ग्रामीण दूरसञ्चार कोषमा जम्मा गर्नुपर्ने रकम, लाइसेन्स नवीकरण शुल्कबापत बक्यौता रकम भुक्तानी गर्न बाँकी रहेको छ । यसअघि २०७६ को साउनमा प्राधिकरण सञ्चालक समितिले स्याटेलाइट कम्पनीको लाइसेन्स रद्दको निर्णय गरेको थियो । नेपाल दूरसञ्चार ऐनमा प्राधिकरणले लाइसेन्स रद्द गरेपछि ३५ दिनभित्र मन्त्रिपरिष्दमा पुनरावलोकनका लागि निवेदन दिन सकिने प्रावधान छ । सोही प्रावधानलाई टेकेर सो कम्पनीले पुनरावलोकनका लागि निवेदन दिएको थियो ।कम्पनीले दिएको पुनरावलोकन निवेदनमाथि छलफल गर्दै २०७६ पुस २१ मा बसेको मन्त्रिपरिषद् बैठकले चालु आर्थिक वर्षमा पहिलो किस्ता तिर्ने र पाँच वर्षभित्र सबै रकम चुक्ता गर्ने गरी किस्तामा तिर्ने सुविधा दिने निर्णय गरेको थियो ।मन्त्रिपरिषद्को बैठकले प्राधिकरणमा बुझाउनुपर्ने बक्यौता रकम ५ वर्षभित्र पाँच किस्तास्वरुप भुक्तानी गर्नुपर्ने र तोकिएको समयमा भुक्तानी नभए स्वतः रुपमा लाइसेन्स रद्दको प्रक्रियामा जाने गरी निर्णय गरेको थियो । मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार प्राधिकरणले नेपाल स्याटेलाइट प्रालिलाई पाँच वर्षमा किस्तामा रु एक अर्ब ३८ करोड ७२ लाख ५३ हजार बक्यौता रकम भुक्तानीको समय दिएको थियो । जसअनुसार कम्पनीले पहिलो किस्तास्वरुप २०७७ को असार मसान्तमा रु २१ करोड ५१ लाख पहिलो किस्ता बुझाइसकेको छ ।यस्तै, कम्पनीले दोस्रो वर्ष अर्थात् २०७८ को असार मसान्तसम्म रु ३३ करोड ९८ लाख, तेस्रो वर्ष रु तीस करोड ८६ लाख, चौथो वर्ष रु २७ करोड ७४ लाख र पाँचौँ वर्ष रु २४ करोड ६३ लाख भुक्तानी गर्ने गरी समय दिएको थियो । प्राधिकरणले यसअघि नै मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार तोकिएको समयमा बक्यौता रकम भुक्तानी नगर्दा समय थप गर्न नमिल्ने भएपछि अनुमतिपत्र नै खारेज गर्ने निर्णय गरिएको जनाएको छ ।
राष्ट्रियसभा सदस्य निर्वाचन कार्य तालिका स्वीकृत काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको आगामी निर्वाचनका लागि निर्वाचन कार्य तालिका स्वीकृत गरेको छ । आयोगको यही मङ्सिर ७ गतेको बैठकले निर्वाचन तयारी गर्न आन्तरिक प्रयोजनका लागि कार्य तालिका स्वीकृत गरेको प्रवक्ता शालीग्राम शर्माले जानकारी दिए ।सरकारले राष्ट्रियसभा सदस्यको निर्वाचन आगामी माघ १७ गतेका लागि घोषणा गरिसकेको छ । निर्वाचनलाई अघि बढाउने सन्दर्भमा आयोगले आवश्यक निर्देशिका र कार्यविधिको कामसमेत अघि बढाएको छ । केही समयपछि आयोगले निर्वाचन कार्यक्रमसमेत प्रकाशित गर्नेछ । उन्नानसाठी सदस्यीय राष्ट्रियसभाका एक तिहाइ सदस्यको कार्यकाल आगामी फागुन २० गते समाप्त हुँदै छ ।कार्यकाल समाप्त हुनेमा अगमप्रसाद वान्तवा राई, उदया शर्मा पौडेल, कविता बोगटी, कोमल वली, खीमबहादुर विक, चक्रप्रसाद स्नेही, चन्द्रबहादुर खड्का, जीवन बुढा, ठगेन्द्रप्रकाश पुरी, तारादेवी भट्ट, दीनानाथ शर्मा, नैनकला ओझा, परशुराम मेघी गुरुङ, राधेश्याम अधिकारी, रामलखन चमार, शशीकला दाहाल, शान्तीकुमारी अधिकारी, शेरबहादुर कुँवर र सुमनराज प्याकुरेल छन्। सरकारको सिफारिसबाट विज्ञका रुपमा मनोनीत सदस्य रामनारायण विडारीको पनि चार बर्षे कार्यकाल फागुन २० गते नै पूरा हुँदै छ । राष्ट्रियसभा सदस्यको कार्यकाल छ वर्ष भए पनि २०७४ सालमा पहिलो पटक गोला प्रथाद्वारा दुई, चार र छ वर्षका लागि कार्यकाल निर्धारण गरिएको थियो ।आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि रु पाँच करोड ८४ लाखको प्रारम्भिक खर्च अनुमान गरी निकासाका लागि अर्थ मन्त्रालयलाई पत्राचार गरिसकेको छ । राष्ट्रियसभा सदस्य निर्वाचनको मतदाताका रुपमा मुलुकका ७५३ पालिकाका प्रमुख र उपप्रमुख तथा प्रदेशसभा सदस्य रहेका छन् ।राष्ट्रियसभा चुनावमा पालिका प्रमुख र उपप्रमुखको मतभार १८ तथा प्रदेशसभा सदस्यको मतभार ४८ कायम हुनेछ ।
सुन कछुवासहित चार पक्राउ काठमाडौँ महानगरपालिका–१३ सोल्टी दोबाटोबाट सुन कछुवासहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूका साथबाट कछुवासहित रु ३६ हजार ६५५ पनि बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँ जनाएको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१६ बालाजु बस्ने ४४ वर्षीय सञ्जय तामाङ, तनहुँ घर भई काठमाडौँको माछापोखरी बस्ने प्रकाश खाती, दोलखा घर भई बूढानीलकण्ठ बस्ने राजकुमार तामाङ र तनहुँ घर भई हाल रानीबारी बस्ने हरि परियार रहेका परिसरले आज एक सूचना जारी गरी जनाएको छ । पहेँलो कछुवा अबैधरूपमा बिक्री गरिरहेको भन्ने जानकारीका आधारमा शनिबार साँझ खोजतलासमा गएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूका विषयमा प्रहरी वृत्त कालीमाटीमा प्रारम्भिक अनुसन्धानपछि थप कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार पठाइएको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक निरञ्जन दत्त भट्टले जानकारी दिए।
एनआरएनए एनसिसीहरुको दोस्रो विश्व भेला १५ मङ्सिरमा काठमाडौं ।गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद्हरुको दोस्रो विश्व भेला मङ्सिर १५ गते बुधबार हुने भएको छ । भर्चुअल माध्यमबाट हुने सो भेलामा अन्तर्राष्ट्रिय समन्वय समितिका नवनिर्वाचित सदस्यहरुलाई पनि आमन्त्रण गरिएको छ । यसअघि पहिलो विश्व भेला गत २४ अक्टोबरमा भर्चुअल माध्यमबाटै आयोजना गरिएको थियो । सङ्घभित्र विवाद बढ्दै गई सरकारविरुद्ध मुद्दा मामिला गर्न लागिएको बारे पनि भेलामा छलफल गरिने जनाइएको छ । राष्ट्रिय समन्वय परिषद् (एनसिसी) अमेरिकाका अध्यक्ष तथा एनसिसीहरुको पहिलो विश्व भेला तयारी समितिका संयोजक बुद्धि सुवेदीले परराष्ट्र मन्त्रालयले संरक्षक परिषद्लाई दसौँ महाधिवेशन गर्ने अधिकार दिएकामा कसरी सहयोग गर्न सकिन्छ भन्नेबारे भेलामा छलफल गरिने बताए । पञ्जीकृत सदस्यहरुले बुझाएको शुल्क खर्च गरेर सरकारविरुद्ध मुद्दा मामिला गर्नु एनआरएनए जस्तो सामाजिक संस्थालाई सुहाउने काम नभएको उनले बताए । संयोजक सुवेदीले भने, “यो अत्यन्तै गैरजिम्मेवार कार्य हो । यसबारे पनि भेलामा छलफल हुनेछ ।” उनले भेलाको निष्कर्ष सङ्घका विभिन्न निकायलगायत परराष्ट्र मन्त्रालयमा पनि पठाइने जानकारी दिए । यसअघि पहिलो विश्व भेलाको निष्कर्ष बेलायत भ्रमणमा आएका प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि बुझाइएको थियो । यसैबीच गैरआवासीय सङ्घ जापानका पूर्वसल्लाहकार तथा अन्तर्राष्ट्रिय कानुनका ज्ञाता डा बलराम श्रेष्ठले परराष्ट्र मन्त्रालयको पछिल्लो पटक दिएको निर्देशनलाई गैरआवासीय नेपालीको एकता र सकारात्मक रुपमा लिनुपर्ने बताए । सन् २०२१ अक्टोबर १८ पछि कामचलाउ भइसकेको सङ्घको अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) का अध्यक्ष कुमार पन्तले एनआरएनएका तर्फबाट कुनै पनि दीर्घकालीन असर पर्ने काम गर्न नपाउने विज्ञप्तिमार्फत जनाए ।
घिमिरेकाे नेपालमा गाँजा पुस्तक बजारमा टाेरन्टाे । नेपाल संसारमै पाइनेमध्येका उत्कृष्ट गुणस्तरका लगभग ७ हजार रैथाने जडिबुटी (हर्बल) हरूको सुन्दर स्थान हो । यहाँका डाँडा, पाखा र पखेरामा सजिलै पाइने महत्वपूर्ण औषधीय वनस्पतिमध्ये गाँजा पनि एक हो । तत्कालीन परिवेशमा अमेरिकी सरकारको तीव्र दबाबका कारण नेपाल संयुक्त राष्ट्रसङ्घको ‘सिंगल कन्भेन्सन अन नार्कोटिक ड्रग्स, १९६१’ मा हस्ताक्षर गर्न बाध्य भएको थियो । राष्ट्रसङ्घको ‘नार्कोटिक्स कन्ट्रोल बोर्ड’ ले गाँजालाई हेरोइनजस्तै उच्च जोखिमपूर्ण लागूऔषधको दर्जामा राखेका कारण नेपालले पनि सोही मान्यतालाई हुबहु मान्दै ‘लागूऔषध नियन्त्रण ऐन, २०३३’ जारी गरी मुलुकभरि प्रतिबन्ध लगाएको थियो । सोही प्रतिबन्धका कारण नेपालमा आजसम्म पनि गाँजा र गाँजाजन्य सम्पूर्ण पदार्थ पूर्ण गैरकानुनी छन् । परिणमस्वरूप आज आधुनिक औषधि विज्ञानले आफ्ना दशौँ हजार परीक्षणहरूबाट शताब्दीयौं अघि वेद र आयुर्वेदमा लेखिएका तथ्यहरू सत्य रहेको प्रमाणित गरी गाँजालाई कानुनी रूपमै औषधीय र मनोरञ्जनात्मक प्रयोजनमा ल्याइरहँदा नेपालमा भने गाँजाको दुई चार बोट मात्र लगाएका विपन्न किसानलाई पनि प्रहरी प्रशासनले तस्करको व्यवहार गरिरहेको छ । नेपालमा आज पनि गाँजा वा गाँजाजन्य पदार्थ मिसाएर बनाइएका औषधी लागूऔषधकै श्रेणीमा पर्छन् । यसरी हेर्दा गाँजा प्रयोग हुने १ सय ९१ भन्दा बढी प्राचीन आयुर्वेदिक औषधी सेवन गरिरहेका बिरामी, जोखिमपूर्ण छारे रोगको औषधी खाइरहेका बालबालिका, क्यान्सरको पीडाबाट आहत भई घर वा अस्पतालमा चरम दर्द घटाउने औषधी सेवन गरिरहेका बिरामी र पेन किलरका रूपमा गाँजाको तेलको मालिस लिइरहेकाहरू सबै कानुनका नजरमा अपराधी करार छन् । युद्ध वा यातनापूर्ण कारबाहीको दर्द घटाउन गाँजा प्रयोग गरिरहेका राष्ट्रसेवक सैनिक, प्रहरी वा अन्य पीडितलाई समेत लागूऔषध नियन्त्रण ऐन, २०३३ ले अपराधी ठहर गरिरहेको छ। तर विश्वका कतिपय मुलुकमा गाँजाजन्य औषधी, खाद्य र पेयको अनुसन्धान, नव–प्रवर्तन, विकास र व्यावसायिक उत्पादन लगभग निर्वाधजस्तै हुन थालिसकेको छ । गाँजाको खेती, प्रशोधन, बिक्री–वितरण र उपभोगलाई कानुनी मान्यता दिँदै गैर–अपराधीकरण गर्नु नै आ–आफ्नो राष्ट्रको हितमा हुने धारणा संसारको कुनाकाप्चासम्मै पुगिसकेको छ । नेपालमा गाँजालाई गैर–अपराधीकरण गरी वैधानिकता दिइनुु पर्छ भन्ने एकथरीको तर्क छ भने अर्कोथरी गाँजालाई खुला गरिंदा यसको व्यापक दुरुपयोग भई लागूपदार्थको दुव्यर्सन बढ्ने चिन्ता गरिरहेका छन् । गाँजा खेती गर्न छुट दिनुपर्ने भन्दै प्रतिनिधिसभामा दर्ता गरिएको विधेयक ‘गाँजा खेती व्यवस्थापन ऐन–२०७६’ त्यत्तिकै अलपत्र छ । यसै पृष्ठभूमिमा क्यानडामा कार्यरत लेखक एवं खाद्य तथा औषधी विज्ञ नारायण घिमिरेको पुस्तक नेपालमा गाँजा ः वैज्ञानिक अवधारणा बजारमा आएको छ । यो पुस्तकले गाँजाको सवालमा नेपालले अपनाउनु पर्ने नीति के हो र त्यो कस्तो हुनुपर्छ भन्नेबारे साङ्गोपाङ् केलाउने प्रयत्न गरेको छ । पुस्तकमा संसारका विभिन्न मुलुकले गाँजाका सम्बन्धमा के कस्ता नीति–नियम अख्तियार गरिरहेका छन् भन्नेदेखि लिएर नेपालको विद्यमान परिस्थितिको मिहीन विश्लेषण गरिएको छ । गाँजको औषधीय उपयोगबारे यसमा सविस्तार चर्चा छ । कफि, गाँजा र रक्सीको तुलनात्मक अध्ययन तथा यौन र गाँजाका बारेमा पनि यसमा समावेश छ । पुस्तकको सबैभन्दा महत्वपूर्ण पाटो संसद्मा प्रस्तुत ‘गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक २०७६’ मा हुनुपर्ने न्यूनतम परिवर्तन हो । प्रस्तावित कानून जस्ताको त्यस्तै पारित भए त्यो नेपाली किसानका लागी सास्ती र बिचौलियालाई मात्र मस्ती हुने लेखकको ठहर छ । ‘यो पुस्तक लेख्नु र प्रकाशन गर्नुको मूल ध्येय नेपालमा गाँजाको गैर–अपराधीकरण (डि–क्रिमिनलाइजेसन) होस् र त्यसो हुनुको पहिलो प्रत्यक्ष फाइदा ती असंख्य बिरामीले प्राप्त गर्न सकून् जसले गर्दा अहिले गाँजा वा गाँजाजन्य औषधीबाट हुने असीमित लाभहरू पाउन सकेका भए उनीहरूको दुःख, दर्द, पीडा र छट्पटी घट्ने थियो भन्ने नै हो,’ लेखक नारायण घिमिरेले भनेका छन्, ‘दोस्रो, उद्देश्य नेपालका सुगमदेखि सुदूर र विकट क्षेत्रसम्मकै गाउँबस्तीका किसानहरूका साथै उद्यमी, व्यवसायी र सरकारसमेतले गाँजाबाट यथेष्ट आर्थिक लाभ लिन र आ–आफ्नो स्तरोन्नति गर्न सकून् भन्ने हो।’ गाँजालाई गैर–अपराधीकरण गरियोस् वा कानुनी वैधता प्रदान गरियोस् भन्ने सदाशयको अर्थ बिना कुनै नियमन वा अनुगमन यसको दुरुपयोग, दुव्र्यसन वा कालोबजारीकरणलाई समेत खुलै छाडियोस् भन्ने नरहेको उल्लेख गर्दै उनले पुस्तकको समग्र सारलाई यही रूपमा बुझिदिन आग्रह गरेका छन् । लेखक घिमिरे १५ वर्षयता क्यानडामा खाद्य तथा औषधी विज्ञका रूपमा कार्यरत छन् । उनी आयुर्वेदिक औषधीका अन्य–असर (साइड–इफेक्ट) रहित गुण र एलोपेथिक औषधीको तत्काल उपचार गर्ने क्षमता पुनः संयोजन गरी चुस्त हर्बल ओखती विकास विषयका शोधकर्तासमेत हुन्। घिमिरे गाँजा, हर्बल र हिलिङ्ग फुड विकासका लागि नवप्रवर्तन विषयमा नियमित कमल चलाइरहन्छन्।
कांग्रेस अधिवेशन : गण्डकी प्रदेशमा पनि देउवा बहुमतमा काठमाडौं। काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृह प्रदेश गण्डकीमा पनि काँग्रेस संस्थापन (शेरबहादुर देउवा) पक्ष महाधिवेशन प्रतिनिधिमास्पष्ट बहुमतमा देखिएको छ । हालै सम्पन्न गण्डकी प्रदेशका विभिन्न जिल्लाहरुमा भएको क्षेत्रीय अधिवेशनले महाधिवेशन प्रतिनिधिमा कांग्रेस सभापति देउवा पक्षको भारी बहुमत देखाएको हो । पौडेलको आफ्नै गृह जिल्ला तनहुँमा देउवा पक्षकै अग्रता देखिएको छ । केन्द्रीय सदस्यहरु शंकर भण्डारी र गोविन्द भट्टराई र आमन्तित्र केन्द्रय सदस्य नेता ध्रुब वाग्लेसमेत देउवा पक्षमा एकढिक्का भएर उभिएपछि महाधिवेशन प्रतिनिधिमा पौडेल पक्ष अल्पमतमा परेको हो । दुई क्षेत्र रहेको तनहुँमा देउवा पक्षमा स्पष्ट २८ मत परेको छ । पौडेल पक्षमा भने २२ मत मात्र आएको छ । तनहुँको महाधिवेशन प्रतिनिधि निर्बाचनमा देउवा पक्षको बहुमत हुनु आफैमा नौलो बिषय रहेको चर्चा तनहुँ काँग्रेसका नेता कार्यकर्तामा चलेको छ । यता गण्डकीकै स्याङजामा भने बराबरीको अबस्था देखिएको छ । स्याङजाका दुबै क्षेत्रमा गरी २५–२५ को अबस्था रहेको जानकारीमा आएको छ । यस्तै गोर्खामा पनि संस्थापन पक्ष बहुमतमा देखिएको छ । दुई क्षेत्र भएको गोरखामा संस्थापन पक्षको ३२ प्रतिनिधि देखिएको छ भने इतर समूहको १८ मत रहेको छ । गोरखामा चिनकाजी श्रेष्ठ, सुरेन्द्र पाण्डे र निवर्तमान सभापति हरि घले देउवा समूहको हस्तीका रुपमा चिनिन्छन् । गण्डकीमा जिल्ला सभापतिमा पनि देउवा पक्षले बहुमत सुरक्षित गरेको छ । यता एउटा क्षेत्र रहेको मनाङमा देउवा पक्षमा २४ मत र संस्थापन इतर समूहमा १ मत मात्र आएको छ । मनाङमा झण्डै ‘क्लिन स्विप’ को अबस्था रहेको हो । मनाङमा पूर्व मन्त्री पाल्टेन गुरुङ र टेकबहादुर गुरुङ देउवा पक्षका पिल्लर मानिन्छन् । अर्को हिमालपारीको जिल्ला मुस्ताङमा भने देउवा पक्ष केही कमजोर देखिएको छ । यद्यपी सभापति रोमी गौचननै देउवा पक्षमा आउने सम्भावना भएकोले त्यो अवस्थामा क्लिन स्पिनै हुने पनि छ । यता एउटा मात्रै क्षेत्र रहेको म्याग्दीमा पनि देउवा पक्षको १८ र देउवा इतरको सात जना मात्रै महाधिवेशन प्रतिनिधि आएका छन् । एउटा मात्रे क्षेत्र रहेको पर्वतमा पनि संस्थापन पक्षले २० महाधिवेशन प्रतिनिधि आफ्नो पोल्टामा पारेको छ । केन्द्रीय नेता अर्जुन जोशीलगायतका नेता देउवा समूहका हस्ती मानिन्छन् । बागलुङ र लमजुङमा भने संस्थापन समूह थोरै मतले पछाडि देखिएको छ । बागलुङका दुई क्षेत्रमा गरी संस्थापन समूहको १५ महाधिवेशन प्रतिनिधि चुनिँदा इतर समूहले भने ३५ प्रतिनिधि हात पारेको छ । लमजुङमा पनि संस्थापन समूहले दश प्रतिनिधि पाउँदा इतर समूह १५ प्रतिनिधिसहित बहुमतमा छ । कास्कीका ७५ महाधिवेशन प्रतिनिधिमा इतर समूह केही अगाडि छ । तर तीन क्षेत्रका ७५ प्रतिनिधिमध्ये ३२ जना संस्थापन पक्षका हुन् । तर सिटौला र शेखर कोइरालाका पनि छुट्टाछुट्टै प्रतिनिधि रहेकाले कास्कीमा पनि देउवा समूह नै झिनो मतले अगाडि देखिएको छ । दुई क्षेत्र रहेको नवलपुरमा पनि आधा–आधीको अवस्था देखिएको छ । दुई–तीन मत मात्र यताउता हुनसक्ने अबस्था रहेको जानकारीमा आएको छ । गण्डकीका दश जिल्लामध्ये सात जिल्ला सभापतिको निर्बाचन परिणाम सार्वजनिक भइसकेको छ । जसमध्ये मनाङ, लमजुङ, पर्वत र म्याग्दीका सभापति देउवा पक्षीय हुन् । स्याङजामा निर्वाचित सभापति राजु थापा केन्द्रमा सभापति देउवा निकट मानिन्छन् भने मुस्ताङ र गोर्खामा निर्बिरोध चयन भएका सभापतिहरुको पनि देउवातिरै झुकाव देखिएको छ । तनहुँ, कास्की र बागलुङको सभापति चयन प्रक्रिया जारी छ ।
आयुर्वेद स्वास्थ्य शिविरबाट २२५ जना लाभान्वित काठमाडौं।म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ पाखापानीमा आज सम्पन्न निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरबाट २२५ जना लाभान्वित भएका छन् । गाउँपालिकाले दुर्गम गाउँमै सर्वसुलभरूपमा उपचार सेवा उपलब्ध गराएको हो । शिविरबाट १०५ पुरुष र १२० महिला लाभान्वित भएका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिए। ग्यास्ट्रिक, जण्डिस, रक्तअल्पता, दम, खोकी, रक्तचाप, मधुमेह, स्त्रीरोग, नशा र आँखासम्बन्धी समस्या भएका बिरामीको उपचार गरिएको हो । पाखापानी, झिँ, कोटगाउँ, रायखोर, ठाडाखानी र कुइनेखानीका बासिन्दाले सेवा लिएका थिए । शिविरमा स्वास्थ्य परीक्षण, परामर्श र निःशुल्क आयुर्वेद औषधि उपलब्ध गराइएको थियो । आयुर्वेद चिकित्सालय नरदेवी, काठमाडौँका वरिष्ठ आयुर्वेद विज्ञ डा बुद्धिप्रसाद पौडेल, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, बेनीका डा सन्देश अधिकारी, कविराज निरीक्षक दामोदर शर्मा, महेन्द्र राखु आयुर्वेद औषधालयका कविराज निरीक्षक लक्ष्मण शर्मा चालिसे, वैद्य निरीक्षक प्रेमप्रसाद गौतम, वैद्य विनोदकुमार यादव र पाखापानी स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीले बिरामीको उपचार गरेका थिए। । गाउँपालिकाका उपाध्यक्ष कमला तिलिजाले विकट क्षेत्रका नागरिकलाई गाउँघरमै सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउन तथा आयुर्वेद उपचार पद्दतिप्रति आकर्षण बढाउन शिविर आयोजना गरिएको बताए ।
फोटो खिच्ने क्रममा कोशीमा डुबेर स्वास्थ्यकर्मीको मृत्यु राजविराज । कोशी ब्यारेजमा डुबेर आज एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको दमक–६ का ४५ वर्षीय सुभाष नेपाल रहेका छन् । इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रमोद यादवका अनुसार जिल्ला जनस्वास्थ्य कार्यालय, मोरङमा अहेव पदमा कार्यरत नेपाल कोशी ब्यारेजको ५२ नम्बर ढोकामा फोटो खिच्ने क्रममा लडेका थिए । लडेर पानीमा डुबेका नेपाललाई सशस्त्र प्रहरी नंं १ बाहिनी पकली, सुनसरीको टोलीले उद्धारको प्रयास गरेपनि उनलाई बचाउन भने सकेन् । नेपालको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएको छ ।
मुख्यमन्त्री राईले भने- म रचना रिमाललाई वान साइड लभ गर्छु झापा । प्रदेश १ मुख्यमन्त्री राजेन्द्रकुमार राईले गायिका रचना रिमाललाई वान साइड लभ गरेको बताएर आफू नेपाली गीतसंगीतलाई माया गर्ने व्यक्ति रहेको जानकारी दिएका छन् । झापाको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा इन्ट्रा नेशनल वेल्फेर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले ज्येष्ठ नागरिकका लागि निर्माण गरेको डे केयर भवनको उद्घाटन तथा सांस्कृतिक कार्यक्रममा शनिबार मुख्यमन्त्री राईले गायिका रचनाको गायिकी क्षमता र वाक् शैलीप्रति आफू वान साइड लभमा परेको बताएका हुन् । ’झापाकी गायिका रचना रिमालप्रति म वान साइड लभमा छु’, उनले भने, ’उनको गायिकी क्षमताको प्रेममा परेको हुँ ।’ रचनाको जबाफ दिने शैलीको तारिफ गर्दै मुख्यमन्त्री राईले भने, ’अन्तर्वार्ता लिँदा तपाईं कसलाई मन पराउनु हुन्छ भनेर सोध्दा रचनाले म तपाईंलाई मन पराउँछु भनेर जबाफ दिन्छिन् ।’ नेपाली गीतसंगीतप्रति चासो र चिन्ता रहेको बताउँदै उनले विभिन्न कलाकारको क्षमताबारे बताए । गायक प्रेमराजा महतले ’पानको पात’ बोलको गीत गाउँदा नायिका रिमालसहित गायक प्रमोद खरेल, नायिकाद्वय केकी अधिकारी र वर्षा राउत, शंकर विसीलगायत कलाकारसँग मुख्यमन्त्री राई नाचेका थिए ।
देवरको हत्यामा भाउजू पक्राउ काठमाडौँ ।आफ्नै देवरको हत्या गरेर जलाएको आरोपमा दुई जना पक्राउ परेका छन् । जिल्लाको शारदा नगरपालिका–५ का ३० वर्षीय शेरबहादुर चन्दको हत्याको आरोपमा प्रहरीले आफ्नै भाउजू २६ वर्षीया लक्ष्मी र छिमेकी भाउजू नातामा पर्ने २५ वर्षीया राधा पौडेल चन्दलाई प्रहरीले पक्राउ गरेको हो । चन्दको शव आधा जलेको अवस्थामा घर नजिकैको बाँसघारीमा शुक्रबार फेला परेको थियो । स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतक चन्दको घरमा रगत देखिएकाले चन्दको हत्या गरी बाँसघारीमा जलाइएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए। हत्या गरिएका चन्द गत वर्ष फागुनमा वैदेशिक रोजगारीबाट घर फर्किएको र श्रीमती माइतमा बस्दै आएको अनुसन्धानबाट खुलेको छ । आरोपित लक्ष्मीका श्रीमान् विदेशमा रहेको र बाबुआमा कोहलपुर बस्ने भएकाले घरमा उनी र शेरबहादुर एक्लै भएकाले घटना भएको हुनसक्ने प्रहरीको भनाइ छ ।
टिपरको ठक्करले स्कुटर चालकको मृत्यु काठमाडौँ ।अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायक नगरपालिका–८ आदर्श चोक प्राइम बैंक अगाडि जगातीबाट आज तीव्रगतिमा आएको टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ भने सवार अर्का व्यक्ति गम्भीर घाइते भएको छन् । जगातीबाट सूर्यविनायकतर्फ जाँदै गरेको बा३ख ५४२३ नं को टिपरले सूर्यविनायकबाट जगातीतर्फ जाँदै गरेको बा५७ प३११३ नं को स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक धनकुटा राजारानी घर भई हाल ललितपुर कुसुन्ती बस्ने २४ वर्षीय अशिम लिम्बुको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए । दुर्घटनामा गम्भीर घाइते स्कुटर पछाडि सवार ललितपुर पाटन बस्ने २६ वर्षीय सन्दीप महर्जनको डा इवामुरा अस्पताल, सल्लाघारीमा प्राथमिक उपचारपछि थप उपचारका लागि बिएण्डबी अस्पताल पठाएको उनले जानकारी दिए । दुर्घटनापछि फरार टिपर चालक दाङ घोराही–२ रामपुर घर भई हाल काठमाडौँ माछापोखरी बस्ने ३१ वर्षीय किरण कुँवर योगीलाई प्रहरीले थिमिको राधेराधेबाट नियन्त्रणमा लिइ महानगरीय प्रहरी वृत्त जगातीमा राखी थप अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए ।
बालुवा खानीमा पुरिएर दुई महिलाको मृत्यु काठमाडौँ ।जुम्लाको तिला गाउँपालिका –९ स्थित बालुवा खानीमा पुरिएर दुई महिलाको मृत्यु भएको छ ।सोही वडा निवासी १९ वर्षीया निली रावत र १५ वर्षीया निरमाया रावत धाराखोलास्थित बालुवा खानीमा पुरिँदा मृत्यु भएको हो । स्थानीयवासी बिनबहादुर रावतका अनुसार शुक्रबार बिहान ७ बजे बालुवा सङ्कलनका लागि बालुवा खानी पसेका थिए। बालुवा सोर्दै गर्दा खानी भत्किएर पुरेकाले उनीहरूको घटनास्थलमै मृत्यु भएको हो । घटनास्थल जुम्ला सदरमुकाम खलङ्गाबाट करिब ३५ कोष टाढा छ । उक्त घटनाको खबर प्राप्त भएलगत्तै रारास्थित प्रहरी चौकीका सुरक्षाकर्मी घटनास्थलतर्फ जानका साथै मुचुल्काका लागि जिल्ला प्रहरी कार्यालयबाट एक टोली खटाइएको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले बताए । घटनाको प्रकृति हेरेर पीडित परिवारलाई राहत उपलब्ध गराइने बताइएको छ ।
आठ प्रहरी उपरीक्षकलाई दज्र्यानी चिह्न काठमाडौँ ।नेपाल प्रहरीको जनपद समूहतर्फ बढुवा भएका आठ प्रहरी उपरीक्षकलाई दज्र्यानी चिह्न प्रदान गरिएको छ । प्रहरी प्रधान कार्यालयमा आज आयोजित समारोहबीच उनीहरुलाई निमित्त प्रहरी महानिरीक्षक नीरजबहादुर शाहीले दज्र्यानी चिह्नबाट सुशोभन गरे । बढुवा हुने प्रहरी अधिकृतमा जनकबहादुर शाही, रामेश्वर कार्की, चक्रराज जोशी, अर्जुनप्रसाद तिमिल्सिना, रामहरि पाण्डे, लक्ष्मीराज अधिकारी, रमेश पण्डित र अर्जुन रानाभाट रहेका छन् । नेपाल सरकार, गृह मन्त्रालय सचिवस्तरको २०७८ साल मङ्सिर ९ गतेको निर्णयबाट उहाँहरू प्रहरी नायब उपरीक्षकबाट प्रहरी उपरीक्षकमा पदोन्नति भएका हुन् । उक्त अवसरमा निमित्त प्रहरी महानिरीक्षक शाहीले सङ्गठनको महत्वपूर्ण जिम्मेवारी सम्हाल्न पुगेकामा उनीहरुलाई बधाई दिँदै नयाँ जिम्मेवारी तथा पदीय गरिमालाई कायम राख्न उच्च मनोबलका साथ कार्यसम्पादन गर्न निर्दशेन दिए । पदोन्नतिसँगै प्राप्त जिम्मेवारीलाई नेपाल सरकार र प्रहरी सङ्गठनको नीति निर्देशनअनुसार बहन गर्नुपर्नेमा उनको जोड थियो । उनले सङ्गठनको श्रीवृद्धिका लागि सबै प्रहरी कर्मचारीको भूमिका महत्वपूर्ण हुने भएकाले कानुनले उपलब्ध गरेको अधिकार र दायित्वलाई कायम राखी नागरिकको सेवामा समर्पित हुन पनि आग्रह गरे । उक्त अवसरमा पदोन्नति भएका अधिकृतका तर्फबाट प्रहरी उपरीक्षक जनकबहादुर शाहीले नयाँ जिम्मेवारीलाई व्यावसायिक निष्ठा र इमानदारिताका साथ उत्कृष्ट ढङ्गले कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गरे । समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेल, वरिष्ठ प्रहरी अधिकृतलगायतको उपस्थिति थियो ।
गणकको लापरबाहीले सर्वसाधारण जनगणनाबाट वञ्चित सप्तरी ।राष्ट्रिय जनगणना ९ मंसिरबाट सम्पन्न भएको छ । तर सप्तरीका धेरै परिवार जनगणनाबाट वञ्चित भएको स्थानीयको भनाइ छ। धेरै परिवार जनगणनाबाट वञ्चित रहेको राजविराज ४ का सुरेश मुखियाले बताए। उनले भने,’गणक नआइदिनाले अहिले पनि हाम्रो छिमेकीहरू जनगणनामा सहभागी हुन पाएका छैनन्।’ जनगणना कार्यालय सप्तरीका प्रमुख सञ्जय चौधरीले गणकहरू पटकपटक स्थानीयको घरमा जाँदा पनि कोही नभेटिएकाले त्यस्तो भएको बताए। उनले भने, ‘छुटेको छ भन्दै सम्पर्कमा आएकाहरूको अहिले पनि गणकलाई पठाएर जनगणना गर्दै आएका छौं।’
ट्याक्टर दुर्घटनामा एक युवकको मृत्यु जनकपुरधाम ।धनुषाको मिथिला नगरपालिकामा ट्याक्टर दुर्घटनामा परी एक युवाको मृत्यु भएको छ । मिथिला नगरपालिका २ नक्टाझिजमा शुक्रबार बिहान ट्याक्टरमा च्यापिएर क्षीरेश्वरनाथ नगरपालिका ७ का २५ वर्षीय चेतन महतोको मृत्यु भएको हो । स्थानीय नदीमा बालुवा अनलोड गर्ने क्रममा ज१त। ४१७२ नम्बरको ट्याक्टर पल्टिँदा महतोको च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ । महतो ट्याक्टरमै बसेका थिए । महतोको शव पोस्टमार्टमका लागि जनकपुरधामस्थित प्रदेशिकक अस्पताल जनकपुरमा ल्याइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
माओवादी नेता पुनको स्वास्थ्य गम्भीर, बैंककमा सुधार नभएपछि चीन लगियो काठमाडौं ।नेकपा माओवादीका नेता तथा पूर्वमन्त्री वर्षमान पुनलाई थप उपचारका लागि थाइल्याण्डबाट बैंकक लगिएको छ । डेढ महिनासम्म थाइल्यान्डमा उपचार गराउँदा पनि सुधार नभएपछि थप उपचारका लागि चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेन लगिएको हो । यो रोग  विश्वमै बिरलै देखिने जटिल प्रकृतिको जण्डिसले सताएका पुन डेढ महिनादेखि बैंककस्थित समितिभेज अस्पतालमा उपचार गराइरहेका थिए। उनीसँग पत्नी ओनसरी घर्ती र छोरी शिला रहेका छन् । जण्डिस दोहोरिएपछि नेता पुन असोज १३ गते बैंककतर्फ लागेका थिए । उनी  नेपालमा हुँदा ललितपुरको सुमेरू अस्पताल र यस अघि ग्राण्डी  अस्पतालमा उपचार भएको थियो ।
निधि र प्रकाशमानले एक अर्कालाई नछोड्ने काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशनका लागि क्षेत्रीय र जिल्ला अधिवेशनका परिणामहरु आइरहँदा सभापतिको उम्मेदवारका लागि पनि रस्साकस्सी सुरु भएको छ । अहिलेलाई कसका कति प्रतिनिधि आए भन्ने लेखाजोखा भइरहँदा सभापतिको गठबन्धनका लागि पनि प्रयासहरु जारी नै छन् । यसै क्रममा उपसभापति विमलेन्द्र निधि र पूर्ब उपसभापति प्रकाशमा सिंहबीच गएराति भेटघाट भएको छ । पार्टीको आसन्न महाधिवेशनको करिब दुई साता मात्र बाँकी रहेका बेला उपसभापति निधि नेता सिंहलाई भेट्न बिहीबार साँझ सिंह निवास चाक्सीबारी पुगेका थिए । रातिसम्म बसेका निधिले त्यहीँ डिनर गरेर निस्किएका थिए । खासमा देशैभरि क्षेत्रीय र जिल्ला अधिवेशनहरु जारी रहेका बेला उता २ नम्बर प्रदेशमा भने अधिवेशन शुरु भएको छैन । २ नम्बर प्रदेशमा क्रियाशील सदस्यको विवादका कारणले सर्लाही लगायतका केही जिल्लामा वडा तहकै हुन सकेको छैन भने रौतहटका नेताहरुले भर्खरै अनसन ताडेर अधिवेशनका लागि गएका छन् । त्यहाँ महाधिवेशन प्रतिनिधिको छनोट आजबाट सुरु हुने बताइएको छ । उता हिजोमात्र निधिले पार्टीमा सभापति उठ्ने औपचारिक घोषणा घोषणापत्र सहित गरेका छन् । हिजोको भेटघाट र डिनर यसै विषयमा केन्द्रित भएको थियो । महाधिवेशनमा आफूलाई सभापतिमा सघाउन सहयोग माग्दै निधि चाक्सीबारी पुगेका थिए । तर समाचार स्रोतका अनुसार हिजोको डिनर निधिका लागि त्यति मिठो नभएको पाइएको छ । निधिले ‘आफूले आज नै सभापतिमा उठ्ने घोषणा गरेर सबैभन्दा पहिला औपचारिक रुपमा तपाईसँग नै सहयोग माग्न आएको छु’ भनेका थिए । महाधिवेशनबाट छानिने नयाँ नेतृत्वबाट आगामी तीनवटै तहको निर्वाचनमा नेपाली कांग्रेसलाई बहुमत दिलाउन एकताको सन्देश दिनुपर्ने भन्दै निधिले प्रकाशमानलाई प्रस्ताव राखेका थिए । प्रकाशमानले भने निधिसँग आफैलाई सहयोग गर्न भनेका थिए । सुरुमा को कस्का कति प्रतिनिधि आए भन्ने बारेमा कुराकानी भएको र पछि निधिले आफूलाई सहयोग गर्न भनेपछि प्रकाशमानले पनि यसपटक आफूलाई इज्जतको पनि सवाल भएकाले जसरी पनि पार्टी सभापतिमा उठ्नुपर्ने अवस्था रहेको सुनाएका थिए । त्यसपछि निधि फर्किए तर अधिवेशन हुन बाँकी जिल्लाबाट महाधिवेशन प्रतिनिधि छनौट भइसकेपछि फेरि एक पटक सहकार्यबारे थप छलफल गर्ने निधिको प्रस्ताव थियो । उता प्रकाशमानले भने २ नम्बर प्रदेशमा आफ्ना प्रतिनिधि ल्याउन निधिलाई आग्रह गरे । तर आफ्ना लागि सहयोग गर्न प्रकाशमानले बारम्बार आग्रह गरेपछि निधिको सभापतिमा उठ्ने औपचारिक घोषणापछिको पहिलो सहयोगको याचना नै सकारात्मक नभएको निधिको सचिवालय स्रोतले जनाएको छ ।
नेपाल प्रहरीमा ठूलो संख्यामा भर्ना खुल्यो (सूचनासहित) काठमाडौँ । के तपाँइ बेरोजगार हुनुहुन्छ ? यदि हुनुहुन्छ भने नेपाल प्रहरीले एक हजार नौ सय ७१ जना प्रहरी जवान माग गरेको छ । आज (शुक्रबार) प्रहरी प्रधान कार्यालयले गोरखापत्रमा सूचना निकालेर इच्छुकहरूलाई आवेदन दिन अनुरोध गरेको हो। साथै कार्यालयले एक सय ४६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) माग गर्दै फागुन १९ गतेदेखि दरखास्त फारम बुझाउन पाइने सूचनामा उल्लेख गरिएको छ ।
सेनालाई पाँच थान ट्रक सहयोग काठमाडौं ।नेपाली सेनालाई सहयोगस्वरूप भारतीय सेनाले पाँच वटा वर्कशप ट्रक उपलब्ध गराएको छ । सैनिक मुख्यालय जङ्गीअड्डामा आज आयोजित कार्यक्रममा नेपाली सेना हतियार तथा नियन्त्रित उपकरण व्यवस्था निर्देशनालयका निमित्त निर्देशक सहायक रथी कृष्णदेव भट्टलाई यहाँस्थित भारतीय दूतावासका सैनिक सहचारी कर्णेल अमित शर्माले ती ट्रक हस्तान्तरण गरेका हुन् । नेपाल–भारत द्विपक्षीय परामर्श समूहको विसं २०७५ मङ्सिरमा काठमाडौँमा सम्पन्न १३औँ बैठकमा भएको सहमतिअनुरूप ती साधन हस्तान्तरण गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । नेपाली सेनाले यस्ता सहयोगले दुई देशबीचको सैनिक सम्बन्ध थप प्रगाढ हुनुका साथै सेनाको कार्य क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएको छ ।
निर्वाचन आयोगद्वारा दलको आय र व्ययको लेखा राख्ने ढाँचा स्वीकृत काठमाडौं ।निर्वाचन आयोगले राजनीतिक दलको आय र व्ययको लेखा राख्ने ढाँचा स्वीकृत गरेको छ । राजनीतिक दलले गर्ने आम्दानी र खर्चलाई विभिन्न शीर्षकमा वर्गीकरण गरी आम्दानी र खर्चको लेखाङ्कन तथा प्रतिवेदनको लागि आठ वटा फारामको ढाँचा तोकिएको छ । लेखा राख्नको लागि सम्बन्धित फाराममा नै फाराम भर्ने निर्देशिका समेतको व्यवस्था गरिएको निर्वाचन आयोगका सहसचिव शालीग्राम शर्मा पौडेलले जानकारी दिए । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४० मा राजनीतिक दलले आफ्नो आय र व्ययको वास्तविक हिसाब किताब देखिने गरी लेखा राख्नुपर्ने उल्लेख छ । दलले राख्ने लेखाको ढाँचा आयोगले तोक्ने व्यवस्था रहेको छ । सबै राजनीतिक दलहरू तथा सम्बन्धित विज्ञसँग सुझाव सङ्कलन गरी प्राप्त सुझाव समावेश गरी दलको आय र व्ययको लेखाको ढाँचा तोकिएको जानकारी दिइएको छ । उक्त नयाँ व्यवस्थाले राजनीतिक दलको आर्थिक कारोबार व्यवस्थित, पारदर्शी र एकरूपता हुने आयोगले विश्वास लिएको छ ।
लमजुङमा डाँका मुद्दाका दुई फरार अभियुक्त पक्राउ लमजुङ ।लमजुङ प्रहरीले डाँका मुद्दाका दुई जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मर्स्याङ्दी गाउँपालिका-६ का ४५ वर्षीय प्रकाश कतिला र मर्स्याङ्दी ९ का ३१ वर्षीय धुरमुस भन्ने अम्मरबहादुर घिमिरे रहेका छन् । उनीहरूलाई प्रहरीले बुधबार सदरमुकाम बेसीसहरबाट पक्राउ गरेको लमजुङका प्रहरी प्रमुख डीएसपी कृष्णबहादुर कार्कीले बताए । उनका अनुसार कतिलालाई ३० दिन कैद र घिमिरेलाई २९ दिन कैद सजाय हुने गरी जिल्ला अदालत लमजुङबाट मुद्दा फैसला भएको थियो । उनीहरू विरुद्ध जिल्ला प्रहरी कार्यालय लमजुङमा २०७६ साउन २२ गते डाँका मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।
१५ मंसिरबाट गोलाप्रथा लागु गर्ने सर्वाेच्च अदालतको निर्णय गोलाप्रथासम्बन्धी नियमावली सोमबार राजपत्रमा प्रकाशित भएपछि बिहीबार फुलकोर्ट बैठक बसेर त्यसलाई कार्यान्वयन गर्ने गरी १५ मंसिरबाट लागु गर्ने निर्णय गरेको हो । गोलाप्रथाबाट पेसी तोक्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा राजी भएपछि १९ जना न्यायाधीश इजलासमा फर्किएका थिए । नेपाल बार एसोसीएसनको जबराको राजीनामा माग्दै भएको आन्दोलनमा ऐक्यबद्धता जनाएर न्यायाधीशहरूले इजलास बहिस्कार गरेका थिए । तर, गोलाप्रथा लागु गर्ने भएपछि न्यायाधीश इजलास फर्किए पनि बार भने आन्दोलनमै छ ।
एमाले महाधिवेशन : लुम्बिनीबाट ७५ हजार कार्यकर्ता बोकेर एक हजार गाडी सौराहामा बुटवल । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनका लागि लुम्बिनी प्रदेशबाट झण्डै सात सय गाडी बुक भएका छन् । प्रदेशका १२ जिल्ला मध्ये रुपन्देही, नवलपरासी र कपिलवस्तुबाट मात्रै सात सय गाडी बुक भएको पश्चिम नेपाल बस व्यवसायी प्रालिले जनाएको छ । यद्यपि हरेक जिल्लाबाट यकिन तथ्यांक आइनसकेको तर प्रारम्भिक रिपोर्ट अनुसार रुपन्देहीबाट ३००, नलवपरासी र कपिलवस्तुबाट दुई–दुई सय र बाँकी जिल्लाहरुबाट थप तीन सय गाडी बुक भएको पश्चिम नेपाल बस व्यवसायी प्रालिका प्रवन्धक रामचन्द्र भुसालले बताए । ‘जिल्ला जिल्लाबाट यकिन रिपोर्ट त आइसकेको छैन, तर अहिलेसम्मको अवस्था अनुसार रुपन्देही, नवलपरासी र कपिलवस्तुबाट सात सय गाडी बुक भएका छन् भने अरु तीन सय थप जिल्लाहरुबाट बुक भएको छ,’उनले भने । पश्चिम नेपाल बस व्यवसायी प्रालिसँग दुई हजार चार सय गाडी आवद्ध छन् । गाडीको अभाव हुन नदिइने प्रालिका अध्यक्ष दधिराम खरेलले बताए । ‘गाडी धेरैजसो बुक भइसकेका छन्, तर पनि हामी अभाव हुन दिने छैनौं’, उनले भने । बस व्यवसायी प्रालिले बिहीबार साँझदेखि क्यू फ्रि समेत गर्ने भएको छ । शुक्रबार बुटवल नारायणगढ खण्ड बन्द हुने भएकाले भैरहवा हुँदै पूर्व जानका लागि क्यू फ्रि गरिएको खरेलले बताए । शुक्रबारदेखि चितवनमा हुने राष्ट्रिय महाधिवेशनमा लुम्बिनीनीबाट ७५ हजार जनताको सहभागिता गराउने एमालेको तयारी छ । यसका लागि एमाले प्रदेश कमिटीले जिल्लागत रुपमा जिम्मेवारी बाँडफाँडसमेत गरेको छ । जिम्मेवारी पाएका जिल्लाहरुले गाडी बुक गरिसकेको र कतिपय आजै साँझ र कतिपय शुक्रबार बिहान ५ बजे हिँड्नेगरी गाडी बुक भएको एमाले लुम्बिनी प्रदेश कमिटी अध्यक्ष लिला गिरीले बताए । लुम्बिनी प्रदेशबाट सबैभन्दा धेरै रुपन्देहीले २२ हजार सहभागी गराउँदै छ । त्यस्तै नवलपरासी र कपिलवस्तु जिल्ला कमिटीलाई १५–१५ हजारका दरले जनसहभागिता गराउने गरी जिम्मेवारी तोकिएको छ । त्यस्तै दाङबाट आठ हजार, बाँकेबाट पाँच हजार, बर्दिया र पाल्पाबाट तीन–तीन हजार, गुल्मी, अर्घाखाँची र प्यूठानबाट एक–एक हजार तथा रुकुम पुर्व र रोल्पाबाट पाँच सयका दरले सहभागिता हुनेछ । महाधिवेशनका लागि लुम्बिनी प्रदेशबाट २०८ जना प्रतिनिधि सहभागी हुँदैछन् ।
बैंकिङ कसुरका फरार पक्राउ काठमाडौं।बैकिङ कसुरमा दोषी ठहर भई फरार काठमाडौँ महानगरपालिका–१० घर भई ललितपुरको सानागाउँ दुर्गा शाही सापकोटालाई प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको विसं २०७७ मङ्सिर १६ को आदेशले बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम सात दिन कैद र रु १३ लाख ६५ हजार जरिवाना हुने फैसला सुनाएको थियो । त्यसपछि फरार सापकोटालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीको खोजतलासमा परिचालित टोलीले पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि आजै काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए । सापकोटाले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी बैंकको चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेको ठहर भएको थियो ।
बाबुको एसिड प्रहारबाट छोराछोरी घाइते सोलुखुम्बु ।सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा बाबुको एसिड प्रहारबाट छोराछोरी घाइते भएका छन् । सोलुदुधकुण्ड नगरपालिका ५ बसन्तबजारका २५ वर्षीय छोरा र १६ वर्षीया छोरी घाइते भएका हुन् । प्रहरीका अनुसार सोमबार राति करिब साढे ८ बजे अन्दाजी ५५ वर्षका मोहन बराइलीले मादक पदार्थ सेवन गरेर छोराछोरीमाथि एसिड प्रहार गरेका थिए । घाइते दुवै जनाको जिल्ला अस्पताल फाप्लुमा उपचार हुन नसकेपछि सोमवार राति नै थप उपचारको लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । घाइतेमध्ये छोरीको हातमा मात्रै चोट लागेको छ भने छोराको शरीरको विभिन्न भागमा चोट लागेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख कवित कट्वालले बताए । एसिड प्रहार गर्ने बराइलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।
बुहारीको कुटाइबाट जेठाजुको मृत्यु काठमाडौं।गोरखामा भाइबुहारीको कुटाइबाट जेठाजुको मृत्यु भएको छ । जिल्लाको आरुघाट गाउँपालिका–४ थुमीमा बुहारीको कुटाइबाट स्थानीयवासी ४९ वर्षीय चामबहादुर बरामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । आफ्नै भाइबुहारी डल्ली बराम र उनकी छोरी निशा बरामको कुटपिटबाट उनी गम्भीर घाइते भएका छन् । शनिबार दिउँसो कुटपिटबाट घाइते भएका चामबहादुरलाई उपचारका लागि सोमबार काठमाडौँ लैजाँदै गर्दा बाटोमा नै ज्यान गएको प्रहरीको भनाइ छ । घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय आरुघाटबाट खटिएको प्रहरीको टोलीले कुटपिटमा संलग्न आमाछोरीलाई नै पक्राउ गरेको छ । पक्राउ परेका दुवैविरुद्ध ज्यान मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
रसुवामा जिप दुर्घटना हुँदा सात घाइते काठमाडौँ ।पासाङल्हामु राजमार्गअन्तर्गत ठाडे क्षेत्रमा आज साँझ यात्रुबाहक टाटा सुमो जिप दुर्घना हुँदा सात जना घाइते भएका छन् । जिपले गोसाइँकुण्ड गाउँपालिका–६ मा तीन पैदलयात्रीलाई ठक्कर दिई राजमार्गबाट ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । सामान्य घाइतेमध्ये दुई जना रसुवा जिल्ला अस्पताल र गम्भीररूपमा घाइते पाँच जनालाई नुवाकोटको त्रिशूली अस्पतालमा पठाएको जिल्ला प्रहरी प्रमुख देवेन्द्र पाण्डेले जानकारी दिए ।
दुर्घटनामा विद्यार्थी नेताको मृत्यु काठमाडौँ ।तनहुँको डुम्रे बेँसीसहर सडक खण्डमा पर्ने भानु नगरपालिका–१ भन्सारमा बसले स्कुटरलाई ठक्कर दिँदा आज अखिल क्रान्तिकारीका नेताको मृत्यु भएको छ । गोरखाको पालुङटार नगरपालिकाको पालुङटार नगरपालिका–४ निवासी २४ वर्षीय विद्यार्थी नेता सुर्वण देवकोटाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । बाइसजाँगरबाट डुम्रे जाँदै गरेको ना६ख ९१३४ नम्बरको यात्रु बसले सोही दिशा गइरहेको बा४५प २३८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा सापकोटाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख डोलिन्द्रबहादुर हमालले जानकारी दिए । मृतक देवकोटा अखिल क्रान्तिकारी पालुङटारको संयोजक हुन् । दुर्घटनाको अनुसन्धानको लागि दुवै सवारी साधन र बसको चालकलाई नियन्त्रणमा लिएको छ ।
कात्तिकमा २३१ मानव अधिकार उल्लङ्घन काठमाडौँ ।अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले कात्तिक महिनामा २३१ जना व्यक्ति मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट पीडित भएको जनाएको छ । इन्सेकले गत कात्तिक महिनाको मासिक तथ्याङ्क विश्लेषण प्रतिवेदनमा १०४ जना महिला र १२७ पुरुष गरी २३१ जना पीडित भएका जनाएको छ । प्रतिवेदनअनुसार बागमती प्रदेशमा १३४, प्रदेश १ मा २२, लुम्बिनी प्रदेशमा २१, प्रदेश २ मा २०, कर्णाली प्रदेशमा १८, गण्डकी प्रदेशमा १४ र सुदूरपश्चिम प्रदेशमा दुई जना पीडित भएको उल्लेख छ । कात्तिकमा प्रहरीले १५ जना महिलासहित ११९ जनालाई गिरफ्तार गरेको छ । त्यसैगरी, यो अवधिमा १३ जना घाइते, अमानवीय व्यवहारबाट एक जना, दुव्र्यवहारको घटनामा एक जना, जातीय विभेदको घटनामा एक जना र बम विष्फोटनमा परी दुई जना घाइते भएको जनाएको छ । कात्तिकमा कारागारमा एक जनाको मृत्यु भएको छ भने पतिद्वारा छ जना पत्नीको हत्या भएको छ । त्यसैगरी बलात्कारपछि एक जनाको हत्या भएको छ । त्यस्तै, बाल अधिकार उल्लङ्घनका घटनामा ३४ जना बालबालिका र महिला अधिकार उल्लङ्घनका घटनामा ४७ जना महिला पीडित भएको इन्सेक जनाएको छ ।
अधिकांश न्यायाधीश इजलासमाःसुनुवाइ न्यून काठमाडौँ ।सर्वोच्च अदालतमा आज अधिकांश न्यायाधीशले बन्दीप्रत्यक्षीकरणसहित सबै खाले मुद्दामा सुनुवाइ प्रारम्भ गरे पनि अझै प्रभावकारी ढङ्गले मुद्दामा सुनुवाइ हुन सकेको छैन । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोक्नुभएको थियो । दशवटा इजलासमा नौवटा संयुक्त र एउटा एकल इजलास तोकिएको थियो । सबै इजलासमा सुनुवाइ प्रारम्भ गरिएको छ तर एकदम न्यून मुद्दामा सुनुवाइ भएको देखिन्छ । न्यायाधीश दीपककुमार कार्की र प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलासमा ९९ वटा मुद्दामा पेसी तोकिएको थियो । त्यसमध्ये तीन मुद्दामा फैसला, एउटामा आदेश र हेर्न नभ्याइनेमा ९५ रहेको छ । त्यस्तै, न्यायाधीश मीरा खड्का र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासमा ५० मुद्दामा पेसी तोकिएको थियो तर एउटा मुद्दामा मात्र सुनुवाइ भएको छ । न्यायाधीश हरिकृष्ण कार्की र सुष्मालता माथेमाको संयुक्त इजलासमा आज ५० मुद्दामा पेसी तोकिएकोमा जम्मा दुई वटा मुद्दामा मात्र सुनुवाइ भएको छ । न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र नहकुल सुवेदीको संयुक्त इजलासमा ५८ मुद्दामा पेसी तोकिएकोमा जम्म एक मुद्दामा सुनुवाइ भएको छ । न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको एकल इजलासमा तोकिएको ३१ मुद्दाको पेसीमा एउटामा मात्र सुनुवाइ भएको छ । न्यायाधीश डा आनन्दमोहन भट्टराई र कुमार चुडालको संयुक्त इजलासमा ९४ मुद्दामा पेसी तोकिएकोमा एउटा मुद्दामा मात्र सुनुवाइ भएको छ । त्यस्तै, न्यायाधीश प्रकाशमानसिंह राउत र बमकुमार श्रेष्ठको संयुक्त इजलासमा पेसी तोकिएको ६६ मुद्दामा एउटामा मात्र सुनुवाइ भएको छ । न्यायाधीश सपना प्रधान मल्ल र डा मनोजकुमार शर्माको संयुक्त इजलासमा ४६ मुद्दामा पेसी तोकिएकोमा जम्मा एउटामा सुनुवाइ भएको छ । न्यायाधीश तेजबहादुर केसी र हरिप्रसाद फुयालको संयुक्त इजलासमा ६६ मुद्दामा पेसी तोकिएकोमा एउटामा मात्र सुनुवाइ भएको छ । यसरी हर्दा अधिकाश इजलासमा एक/दुई वटा मुद्दा मात्र हेरेको देखिन्छ । गत कात्तिक ७ गते आइतबार मध्याह्नदेखि न्यायालय सुधारको माग राख्दै न्यायाधीशले इजलासमा बस्न इन्कार गर्नुभएको थियो । त्यसको आज एक महिना भएको छ तर अहिले मुद्दाको प्रभावकारी सुनुवाइ हुन नसक्दा न्यायका उपभोक्ता मारमा परेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित सर्वोच्च अदालतका सम्पूर्ण न्यायाधीशको यही मङ्सिर २ गते बिहीबारको पूर्ण बैठक (फूलकोर्ट) ले गोला प्रणालीसहित नियमावली पास गर्ने निर्णय गरेको थियो । उक्त निर्णय सोमबार राजपत्रमा प्रकाशितसमेत भइसकेको छ । सर्वोच्च अदालतको गत कात्तिक ८ गतेदेखि मुद्दाको सुनुवाइ हुन सकेको छैन । बीचबीचमा बन्दीको मुद्दामा मात्र सुनुवाइ भएको थियो । पछिल्लो समयमा केही अन्य मुद्दामा पनि सुनुवाइ भएको छ । अदालतमा मुद्दाको चापअनुसार नियमितरुपमा बेन्च बस्न नसक्दा न्यायको पर्खाइमा बसेका सेवाग्राही मर्कामा परेका छन् ।
बेहोस अवस्था फेला परेका डाक्टर सुबास लोहनीको अस्पताल नपुर्‍याउँदै मृत्यु काठमाडौं ।बेहोस अवस्थामा फेला परेका काठमाडौँको टोखा निवासी एक चिकित्सकको मृत्यु भएको छ । ग्राण्डी टावरको माथिल्लो तलामा रहेको आफ्नै कोठामा सोमबार बेहोस अवस्थामा फेला परेका न्युरोसर्जन डा सुवास लोहनीको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । लोहनी नेशनल न्यूरो सेन्टरमा कार्यरत थिए । महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक सुशीलसिंह राठौरका अनुसार शव परीक्षणका लागि आज महाराजगञ्जस्थित शिक्षण अस्पतालमा ल्याइएको छ । डा लोहनी आफैँले बेहोस हुने औषधि इन्क्सन लिएको पाइएको प्रहरीले जनाएको छ । “ओभरडोज भएर मृत्यु भएको जस्तो देखिन्छ”, एक प्रहरीले भने, “सुसाइड नोटसमेत फेला परेकाले आत्महत्या गरेको अनुमान गरिएको छ ।” उनले शव परीक्षणको प्रतिवेदन आएपछि कारण यकिन हुने पनि बताए । सोमबार दिउँसो १ बजेसम्म फोन गर्दा ठीक रहेको र तीन बजे बेहोस अवस्थामा फेला परेको परिवारको भनाई उद्धृत गर्दै प्रहरीले जानकारी दिएको छ । उनीमा एक हप्ता अघि मात्रै कोभिड–१९ को सङ्क्रमण भएको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानमा केही अघिदेखि नै डा लोहनी एक्लै बोल्ने, बस्ने गरेको पाइएको छ । साहित्य क्षेत्रमा समेत रुचि राख्ने डा लोहनी सञ्चारमाध्यममा लेखसमेत लेख्थे ।
उपभोक्ता समितिमार्फत हुने कामको अध्ययन गर्न कार्यदल काठमाडौं ।उपभोक्ता समितिमार्फत हुने कामका विषयमा टीकाटिप्पणी बढ्न थालेपछि सहरी विकास मन्त्रालयले अध्ययन गर्न कार्यदल गठन गरेको छ । मन्त्रालयका सहसचिव रामचन्द्र दङ्गालको संयोजकत्वमा सरोकार भएका निकायका प्रतिनिधि पनि सदस्य रहने गरी समिति गठन गरिएको मन्त्रालयले जनाएको छ । उपभोक्ता समितिमार्फत हुने काममा गुणस्तरीय काम नहुने, उपभोक्ता समितिले सम्बन्धित कार्यालयमार्फत कामको जिम्मेवारी लिएर निश्चित प्रतिशत कमिसन राखेर निर्माण व्यवसायीलाई काम दिनेजस्ता विकृति बढ्दै गएको गुनासो आउन थालेपछि मन्त्रालयले कार्यदल गठन गरेको हो । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको मन्त्रीस्तरीय निर्णयबमोजिम गठन भएको कार्यदललाई प्रतिवेदन पेश गर्न एक महिनाको अवधि दिइएको छ । कार्यदलले प्रतिवेदन नबुझाएसम्म उपभोक्ता समितिमार्फत् हुने मन्त्रालयअन्तर्गतका सबै निकायको काम रोकिएको प्रवक्ता विष्णुप्रसाद शर्माले जानकारी दिए ।सार्वजनिक खरिद ऐन र नियमावलीमा कार्यविधि बनाएर उपभोक्ता समितिलाई काम दिने व्यवस्था छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले अहिलेसम्म कार्यविधि तयार नपारेको मन्त्रालयले जनाएको छ । मन्त्रालयअन्तर्गतको सघन सहरी तथा भवन निर्माण आयोजनाअन्तर्गतका २० कार्यालय, काठमाडौँ उपत्यका विकास प्राधिकरण र अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका काम उपभोक्ता समितिमार्फत हुँदै आएको मन्त्रालयले जनाएको छ ।कार्यदलको प्रतिवेदन नआएसम्म ती कार्यालयलाई उपभोक्ता समितिमार्फत काम नगर्न निर्देशन दिइएको मन्त्रालयले जनाएको छ । निर्देशनविपरीत उपभोक्ता समितिमार्फत काम भएमा कारबाही गरिने जनाइएको छ ।
निर्वाचन आयोगले शिक्षक र कर्मचारी दलको प्रतिनिधि भए सदस्यता वितरण नगर्ने काठमाडौँ ।निर्वाचन आयोगले राजनीतिक दललाई नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेका स्वशासित संस्थाको बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारीको पदमा बहाल रहेको व्यक्तिलाई सदस्यता वितरण नगर्न नगराउन निर्देशन दिएको छ । आयोगले राजनीतिक दलका महाधिवेशनमा सार्वजनिक पदमा बहाल रहेका शिक्षक, कर्मचारी, प्राध्यापक प्रतिनिधि चयन भएको समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै राजनीतिक गतिविधि गर्दा कानूनबमोजिम गर्न गराउन सुझाव दिएको छ । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १४ को उपदफा (२) अनुसार नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको स्वशासित संस्थाको बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारीको पदमा वहाल रहेको व्यक्ति राजनीतिक दलको सदस्य हुन नसक्ने स्पष्ट व्यवस्था रहेको आयोगका प्रवक्ता शालीग्राम पौडलले जानकारी दिए । राजनीतिक दलले पनि त्यस्तो सार्वजनिक पदमा बहाल रहेको व्यक्तिलाई सदस्य बनाउन नमिल्ने प्रष्ट व्यवस्था रहेको छ । सङ्घ, प्रदेश तथा स्थानीय तहमा कार्यरत शिक्षक, कर्मचारी प्राध्यापकले राजनीतिमा भाग लिन नहुने व्यवस्था सम्बन्धित कानूनमा समेत उल्लेखबारे आयोगले सजग गराएको हो । आयोगको निर्देशनबमोजिम नगरी दलको सदस्यता वितरण र पदाधिकारी चयन गरिएको पाइएमा सम्बन्धित दलका त्यस्ता पदाधिकारीको विवरण आयोगबाट अद्यावधिक नहुने जानकारी गराएको छ । दलको प्रदेश समिति, जिल्ला समितिमा रहने पदाधिकारी र सदस्यको विवरण प्रदेश वा जिल्ला निर्वाचन कार्यालयमा राख्नुपर्ने भएकाले उक्त विवरण प्राप्त हुँदाका बखत सार्वजनिक पदमा बहाल रहेका व्यक्ति समावेश भएको पाइएमा सूचीबाट हटाउन प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयलाई आयोगले निर्देशनसहितको पत्राचार गरिसकेको छ ।
गोदावरी सडकमा खाल्डैखाल्डा काठमाडौँ ।ललितपुरको गोदावरीबाट बिहान निस्केका रमेश सिलवाल दिउँसोसम्म कार्यालय पुग्दा धुलाम्मे हुन्छन् । निर्माणाधीन सो सडक हुँदै पाटन पुग्दासम्म वर्षामा हिलो र हिउँदमा धुलाम्मे हुने उनले बताए । अचेल उनी सडकमा हिँड्दा बाहिरबाट बर्षादी लगाएर निस्कन्छन् । उनले भने, “त्यसरी बाहिरको लुगा नफेरे त अफिस पुग्दासम्म मान्छे र लुगा दुबै धुलाम्मे हुन्छ ।” निर्माण सुरु भएको वषौँ बित्दासमेत हात्तीबन–गोदावरी सडक सम्पन्न भएको छैन । सो सडक सधैँ निर्माणाधीन हुँदा स्थानीयवासीले कष्टकरयात्रा गर्न परिरहेको छ । सडक खाल्डाका कारण हिँडडुल गर्न गाहे भएको स्थानीयवासी बताउछन् । गोदावरी सडकमा भएको खाल्डाखुल्डीका कारण आधा घण्टामा पार गरिने सडकमा हाल एकदेखि डेढघण्टा लाग्ने भएको चालक राम विष्टले बताए । झण्डै एक दशकदेखि यही सडकमा बस चलाउँदै आएका उनी सडकको खराब अवस्थाकै कारण जामको समस्याले हैरान छन् । उनले भने, “बाटो धुलो र हिलोले भरिएर हप्तैपिच्छे नधोइ नहुने भएको छ ।”  सो सडकमा भएको धुलोका कारण आफ्ना घरदेखि भान्छा कोठासम्म दैनिक धुलाम्मे हुने गरेको स्थानीयवासी सरिता महर्जनले बताए । सडकसँगै भएको उनको घर दिनहुँ धुलोले गर्दा फोहर हुने गर्छ । आफूलाई दिनभर घरमा बसेर सरसफाइ गर्न हैरान हुने र साँझ श्रीमान् र छोराछोरी फर्कदा धुलैधुलो लुगा लिएर फर्कने उनले बताए । उनले भने, “खै हामीले यो धुलोबाट मुक्ति पनि कहिले पाउने होला ?”निर्माण सुरु भएको पाँच वर्ष बित्दासमेत सो सडक अलपत्र छ । निर्माण व्यवसायीले कहिलेकाहीँ उपकरण र जनशक्ति थपेर काम गर्न चाहेको जस्तो देखाए पनि नियमित नहुँदा सम्पन्न नभएको स्थानीयवासीको गुनासो छ । स्थानीयवासीले पटक–पटक कहिले सडक विभाग, कहिले गोदावरी नगरपालिका, कहिले आयोजना कार्यालय र कहिले सडक विभागलाई सडक चाँडो सम्पन्न गर्न दबाब दिँदै आएका छन् । सडक निर्माणमा ढिलाइ भएको भन्दै पटक–पटक सडक नै अवरुद्ध गरिए पनि सम्पन्न हुन सकेको छैन । बाँडेगाउँमा सोमबार बिहानैबाट स्थानीयवासीले सडक अवरुद्ध गरेका थिए भने दिउँसोबाट हरिसिद्धि सडक पनि अवरुद्ध भएको थियो । सडक विभागका प्रतिनिधि र स्थानीयवासीबीच मङ्सिर महिनाभित्र सडक सम्पन्न गर्ने सहमति भएपछि अहिले सडक चालू छ । निर्माण सुरु भएको लामो समयसम्म पनि कालोपत्र नभएर स्थानीयवासीले धुलो र हिलो खप्नुपरेको भन्दै निर्माण व्यवसायी विरुद्ध सडक अवरुद्ध गरेका हुन । निर्माण व्यवसायीले सो खण्ड यही महिनाभित्रमा कालोपत्र सम्पन्न गर्ने भन्दै आएको थियो । कामले गति नलिएपछि जनता आक्रोशित भएको गोदावरी नगरपालिका– १४ का वडाध्यक्ष जगनाथ महर्जनले बताए । उनका अनुसार योबीचमा सडक सुधार पनि नहुँदा अवस्था झनझनै खराब भइरहेको छ । गतवर्ष सडकमा माटो र ग्राभेल विच्छाउदा आवागमनमा झन गाहे भएको थियो । उनले भने, “अब कति दिन धुलो, धुवा र हिलोको सामना गर्नुपर्ने हो भन्ने भएरै विरोधमा कार्यक्रम भइरहेको छ ।” ललितपुर महानरपालिका र गोदावरी नगरपालिकामा पर्ने सो सडक सङ्घीय सडकका रुपमा रहेको छ । सो सडकमा लामो समयसम्म निर्माणले गति नलिएको भए पनि पछिल्लो दिनमा केही गतिलिन थालेको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाका प्रमुख दीपेन्द्र पाण्डेले बताए ।उनका अनुसार आयोजनाले स्थानीयवासीले लामो समयदेखि दुःख पाइरहेकाले जनशक्ति र उपकरण दुबै थप्न कम्पनीलाई भनेको छ । पाँचवर्ष पहिले विस्तार सुरु भएको सो सडकमा सुरुका वर्षमा चौडाइ विवादका कारण निर्माणअघि बढ्न सकेको थिएन । स्थानीयवासीले घर भत्काउन नदिने भन्दै विरोध गरेपछि निर्माण ठप्प थियो । सुरुका दिनमा निर्माण व्यवसायीले काम गर्न चाहे पनि आयोजनाले नै निर्माणस्थल खाली गर्न सकेको थिएन । तीन वर्ष पहिले नै सर्वोच्च अदालतले उपलब्ध चौडाइमा नै निर्माण गर्न फैसला गरेको थियो । सोही आधारमा पहिले २० मिटर चौडाइमा कालोपत्र गर्ने गरी ठेक्का सम्झौता भए पनि विभागले उपत्यकाका विस्तारका क्रममा रहेका अरु सडकजस्तै यो सडकमा उपलब्ध चौडाइमा कालोपत्र गर्ने निर्णय गरेको थियो । सो सडक २० मिटर चौडा गर्न नसकिएपछि १६ मिटर चौडाइ कायम गर्ने गरी जनप्रतिनिधि, स्थानीयवासी र आयोजनाबीच सहमति भएको थियो ।त्यसपछि पनि १६ मिटरभित्रै घर भएका स्थानीयवासीसमेत सडकका लागि जग्गा दिन नमानेपछि सडक अलपत्र बनेको थियो । सो सडकमा गोदावरीको साँढे तीन किमी सडक मात्रै १६ मिटर चौडाइ कायम गर्न सकिने अवस्था छ । बाँकी सडकमा अहिले १६ मिटरभन्दा कम चौडाइ रहेको आयोजनाले जनाएको छ । सडकमा कतैकतै पाँच/साढे पाँच मिटरको चौडाइ छ । चौडाइ कम भएका स्थानमा पैदलयात्रुमार्ग, ह्युमपाइपलगायतका संरचना बनाउन नसकिने विभागले बताउँदै आएको छ । टौखेलदेखि गोदावरी सडक भने गतवर्ष नै निर्माण सम्पन्न भइसकेको छ । विस्तारका क्रममा रहेको सडकमा कर्मनाशा खोलाबाट हरिसिद्धिसम्म ललितपुर महानगरपालिक पर्छ भने साविक ठैब र गोदावरी गाविस गोदावरी नगरपालिकामा पर्छ । ७ दशमलव ६ किलोमिटर लम्बाइको यो सडक निर्माणको ठेक्का सम्झौता विसं २०७३ असारमा भएको थियो । सडक निर्माणको ठेक्का आयोजनाले आशिष सिएम जेभी र लामा समानान्तर जेभी गरेर दुई कम्पनीलाई दिइएको छ । ठेक्का अवधि सकिए पनि कोभिडका कारण अवरुद्ध अरु आयोजना जस्तै छ महिना थपिएको छ । आयोजनाले भने अवधि बाँकी भए पनि सो सडक त्यस पहिले नै कालोपत्र गर्न निर्माण कम्पनीलाई भनेको छ ।  प्रमुख पाण्डेले भने, “पहिलो एक तहको कालोपत्र अहिले नै गरेमा स्थानीयवासीलाई हिँड्न सजिलो हुन्छ र त्यसपछि अर्को तहको कालोपत्र गर्न सकिन्छ ।”
एमाले महाधिवेशनः मञ्च अत्याधुनिक प्रविधियुक्त, आकाशमा दुई वटा ड्रोन चितवन । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनको लागि उद्घाटन र बन्द सत्र हुने स्थानमा आवश्यक पूर्वाधार निर्माणलाई तीव्र पारिएको छ । उद्घाटन स्थलको मञ्चमा अत्याधुनिक प्रविधिसहितको उपकरण जडान भइरहेको छ भने महाधिवेशन स्थल ड्रोनले निगरानी हुनेछ । मञ्च नेपालमा प्रयोग भएको सबैभन्दा अत्याधुनिक प्रविधिको प्रयोग गर्दै निर्माण भइरहेको मञ्च व्यवस्थापन समिति संयोजक एवं एमाले केन्द्रीय सदस्य विनोद श्रेष्ठले बताए । प्रचार सहयोग समिति चितवनले महाधिवेशनको तयारीका सम्बन्धमा सोमबार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा संयोजक श्रेष्ठले पाँच लाख नागरिकले सजिलै हेर्न मिल्ने गरी मञ्च निर्माण भइरहेको जानकारी दिए । उनका अनुसार एकै स्थानबाट पाँच लाख मानिसले उद्घाटन सत्र अवलोकन गर्न नसक्ने भएकाले विभिन्न स्थानबाट लाइभ प्रशारण गरिनेछ । उद्घाटन सत्र लाइभ गर्न भिडियो क्यामेराका साथै कम्तिमा दुई वटा ड्रोन क्यामेरा प्रयोग गरिने श्रेष्ठले बताए । ९ मंसिरमा हस्तान्तरण गर्ने गरी मञ्च निर्माण भइरहेको श्रेष्ठको भनाइ छ । उनले हालसम्म मञ्च निर्माणको ४० प्रतिशत काम सकिएको बताए । त्यसैगरी, सौराहामा बन्द सत्र हुने हल निर्माण समेत आइतबारदेखि नै सुरु भइसकेको उनले जानकारी दिए । ‘बन्द सत्र हुने सौराहाको होटल सेभेन स्टार नजिकै खाली चौरमा आल्मुनियमको संरचना बनाइएको छ,’ उनले भने । पत्रकार सम्मेललनमा अनुगमन समितिको संयोजकमा काशीनाथ अधिकारीले महाधिवेशनको कामको नियमित अनुगमन भइरहेको बताए । समितिले कामलाई थप गति दिन आवश्यकताअनुसार जनशक्ति व्यवस्थापन समेत गरेको उनको भनाइ छ । महाधिवेशन तयारीले हिजोदेखि गति समातेको अधिकारीले बताए । जनसहभागिता जुुटाउन गाउँगाउँमा घरदैलो कार्यक्रम समेत जारी रहेको उनको भनाइ छ । १० मंसिरमा हुने उद्घाटन सत्रमा सहभागी हुन विभिन्न ६ स्थानबाट र्‍याली निकाल्ने तयारी भइरहेको अधिकारीले बताए । गैँडाकोट, आँपटारी, विशाल चोक, केन्द्रीय बस टर्मिनल, त्रिचोक, बेलचोकबाट र्‍याली निकाल्दै ब्यापक जनसहभागिता जुटाउने गरी तयारी भइरहेको अधिकारीको भनाइ छ । प्रचार सहयोग समिति चितवनका संयोजक विजय सुवेदीले जिल्लामा विभिन्न ६ वटा समिति निर्माण गरेर काम अगाडि बढाएको बताए । व्यापक जनसहभागिता जुटाउन जिल्लाका ९८ वटै वडा कमिटी, दुई वटा शाखा कमिटी र पार्टीका सबै जनवर्गीय संगठन परिचालन भइरहेको सुवेदीले जानकारी दिए । नेकपा एमाले चितवनकी अध्यक्ष पार्वती रावलले जिल्लामा निर्माण गरिएका सबै समितिले आफ्नो कामलाई तीव्र रुपमा अगाडि बढाइरहेको बताइन् । जिल्लामा रहेका सुरक्षा निकायहरूसँग सहकार्य गरेर ट्राफिक व्यवस्थापनसहित सुरक्षा प्रबन्ध मिलाउने रावलले जानकारी दिइन् ।
चोरी गिरोहका चार भारतीय पक्राउ काठमाडौं ।भक्तपुरको एक उद्योगबाट कात्तिक ३० गते ढलौटका विभिन्न सामानहरु चोरी गरी फरार भएका गिरोहका चार भारतीय नागरिकलाई महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले पाँच दिनपछि पक्राउ गरेर आज सार्वजनिक गरेको छ । पक्राउपर्नेमा भारत मोतिहारी घरभई काठमाडौँ महानगरपालिका–३२ बानेश्वर बस्ने ३० वर्षीय मुन्ना साह, सोही ठाउँ बस्ने ३५ वर्षीय नारद साहु, भारत हैदराबाद घरभई काठमाडौँ महानगरपालिका–९ सिनामङ्गल बस्ने १८ वर्षीय बैंकटेस गिरी र सोही ठाउँका १८ वर्षीय राजु गिरी रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । प्रहरीले काठमाडौँ महानगरपालिका–९ सिनामङ्गलस्थित मुन्ना साहको कवाडी पसलमा बिक्री गरेको चोरीका सामानसहित पक्राउ गरेको हो । प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित दुवाल आर्ट एन्ड ह्यान्डिक्राफ्ट उद्योगबाट उनीहरुले ढलौटको करुवा बनाउने कच्चा पदार्थ र बन्दै गरेको ढलौटको करुवाहरू चोरी गरेको अनुसन्धानका क्रममा खुलेको उनले जानकारी दिए । उनीहरुका साथबाट प्रहरीले २९ किलो ५०० ग्रामको ढलौटको करुवाको बैठक, ७४ किलो ढलौटको करुवाको मुख, ४७ किलो पानसको छड र ४८ किलो कच्चा पदार्थ बरामद गरेको उनले जानकारी दिए । पक्राउ पछि भक्तपुर जिल्ला अदालतबाट चोरी मुद्दामा पाँच दिन म्याद थप गरी अनुसन्धान सुरु गरिएको गिरीले जानकारी दिए ।
नर्सिङ भर्ना तत्काल खोल्न शिक्षामन्त्रीको निर्देशन काठमाडौं ।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्रमाणपत्र तह (पीसीएल) नर्सिङको भर्ना तत्काल खोल्न निर्देशन दिएका छन् । मन्त्री पौडेलले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरी, सीटीईभीटीका उपाध्यक्ष खगेन्द्र अधिकारी, मन्त्रालयका सचिव रामप्रसाद थपलिया, सीटीईभीटीका सदस्य–सचिव जीवनारायण काफ्लेलगायतलाई आज मन्त्रालयमा बोलाएर तत्काल नर्सिङको भर्ना खोल्न निर्देशन दिएका हुन् । मन्त्री पौडेलले १०० शय्याको आफ्नै अस्पताल भएका शिक्षण संस्थाले नर्सिङको पठनपाठन गराउन पाउने निर्णय गत कात्तिक १७ गते गरेका थिए । भर्ना प्रक्रिया सुरु गर्न निर्णय गरे पनि सीटीईभीटीले सूचना प्रकाशन नगरेपछि मन्त्रीले मन्त्रालयमै बोलाएर तत्काल सूचना प्रकाशन गरी भर्ना खोल्न निर्देशन दिएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ । चिकित्सा शिक्षा ऐनमा व्यवस्था भएअनुसार ऐन र कानुनबमोजिम तत्काल भर्ना खोल्न निर्देशन दिएको मन्त्री पौडेलले जानकारी दिए । “चिकित्सा शिक्षा र सीटीभिटीका उपाध्यक्षलाई राखेर ऐन कानुन र नियमानुसार तत्काल नर्सिङको भर्नाको सूचना निकाल्न निर्देशन दिएको छु”, उनले भने । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् तहका १०९ मध्ये २४ शिक्षण संस्थाले मात्रै पढनपाठन गराउन मापदण्ड पूरा गरेका छन् । ती २४ कलेजमध्ये १७ निजी हुन् भने सात आङ्गिक छन् ।
बैतडीमा जिप दुर्घटना, चार जनाको मृत्यु बैतडी ।बैतडीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ । बैतडीको दशरथचन्द नगरपालिका २ थलालगाउँबाट जन्ती बोकेर दशरथचन्द नगरपालिका ६ सेरातर्फ जाँदै गरेको से१ज ३१० नम्बरको जिप दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघाट सडक खण्डअन्तर्गत दशरथचन्द नगरपालिका ४ कलुवाड मोडमा दुर्घटनामा परेको हो । आइतबार राती साढे आठ बजेतिर भएको जिप दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको घटनास्थलमा रहेका पत्रकार आशिष मालले बताए । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ । जिपमा कति जना सवार थिए भन्ने खुल्न सकेको छैन ।
यस वर्ष पनि रासायनिक मलको अभाव हुने काठमाडौँ । गत वर्षको असारमा खेत रोप्ने मुख्य समयमा रासायनिक मल नपाएका किसानले यस वर्ष पनि मल नपाउने भएका छन् । मल खरिद बिक्रीको जिम्मा पाएको कृषि सामग्री कम्पनीले पर्याप्त मात्रामा रासायनिक मल खरिद गर्न नसकिएको भन्दै अभाव हुने जनाएको हो । आलु र गहुँका लागि आवश्यक पर्ने मल गत फागुनदेखि नै खरिदको तयारी गर्दा समेत अभाव हुने देखिएको कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीले जानकारी दिए । उनका अनुसार अन्तर्राष्ट्रियरुपमा नै रासायनिक मलको मूल्यमा वृद्धि हुँदा मल खरिदको जिम्मा पाएका कम्पनीले मल ल्याउन नसक्दा अभाव हुने देखिएको छ । अन्तर्राष्ट्रिय रुपमा गत वर्षको तुलनामा यस वर्ष प्रति मेट्रिकटन ३०० अमेरिकी डलरभन्दा बढीले रासायनिक मलको मूल्यमा वृद्धि भएको छ । ‘कोभिड अगाडि रासायनिक मलको मूल्यमा खासै वृद्धि हुने गरेको थिएन, मूल्य बढ्दै घट्ने गरेको थियो, तर कोभिड पश्चात् निरन्तर रुपमा रासायनिक मलको मूल्य बढेको छ, हामीले मल खरिदको बोलपत्र आह्वान गर्दा अन्तर्राष्ट्रिय रुपमा मलको मूल्य कम थियो, तर हाल उच्च भएको छ’, उनले भने, ‘मल खरिद गर्न कम्पनीले रु ४/५ करोड बराबरको धरौटी रकम राखेका हुन्छन्, रु २२/२५ करोड घाटा खाएर रासायनिक मल ल्याउनुभन्दा व्यवसायीले धरौटी रकम नै छाड्ने गरेका छन् ।’ उनका अनुसार यसअघि प्रति मेट्रिकटन ६७० डलरमा मल खरिदको ठेक्का हुने गरेकामा हाल ठेक्का रकम बढेर ९४८ डलर पुगेको छ । अन्तर्राष्ट्रिय रुपमा नै मलको अभाव भएको भन्दै मूल्यमा वृद्धि हुँदा नेपालमा प्रत्यक्ष असर पर्ने गरेको उनको भनाइ छ ।‘हाम्रो देशमा रासायनिक मलको उत्पादन छैन, अन्य देशबाट ल्याउनुपर्ने बाध्यताका कारण नेपाली किसानले प्रत्येक वर्ष दुःख पाउने गरेका छन्’, उनले भने, ‘मल उत्पादन गर्ने देशले दिए हामीले पाउने हो, जतिमा दिन्छु भन्छन् त्यतिमा ल्याउनुपर्ने हाम्रो बाध्यता छ, हाम्रो सार्वजनिक खरिद नियमावलीअनुसार कम मूल्यका आधारमा मलको ठेक्का दिइन्छ, सोही कारण पछिल्ला सबै ठेक्का रद्द हुने गरेका छन्, एउटै ठेक्काका लागि २० पटकसम्म बोलपत्र आह्वान गर्नुपरेको बाध्यता छ ।’ यस वर्ष दुई लाख मेट्रिक मात्र मल ल्याइने नेपालमा रोपाइँ हुने क्षेत्रफलका आधारमा करिब साँढे सात लाखदेखि आठ लाख मेट्रिकटन मल आवश्यक पर्छ । त्यसमध्ये साढे पाँच लाख टन आयात गर्न सके किसानले अभाव झेल्नुपर्दैन । मूल्य वृद्धिका कारण मागको तुलनामा न्यून मात्रामा रासायनिक मल आउँदा प्रत्येक वर्ष किसानले मलबिनै खेती गर्नुपर्ने बाध्यता छ । कम्पनीका प्रबन्ध सञ्चालक भण्डारीले यस वर्ष रु १५ अर्ब रकमबाट दुई लाख मेट्रिकटन मात्र रासायनिक मल ल्याउन सकिने अनुमान गरिएको बताए । ‘गत वर्ष हामीले सरकारले दिएको रु एघार अर्ब मध्येबाट चार लाख दुई हजार मेट्रिक टन (कृषि सामाग्री कम्पनी र साल्ट ट्रेनिङ कर्पोरेशन दुवैले) रासायनिक मल ल्याएका थियौँ, तर यस वर्ष आधा मात्र ल्याउन सकिने हाम्रो अनुमान छ’, उनले भने, ‘यस वर्ष हामीले रु १५ अर्ब (पछि थपिएको रु तीन अर्बसहित) रकममध्येबाट दुई लाख १५ हजार मेट्रिकटन मात्र ल्याउन सक्ने अपेक्षा गरेका छौँ, अहिलेसम्मको मूल्यअनुसार हामीले दुई लाख जति आउँछ भनेका हौँ, अबका दिनमा मूल्यमा फेरबदल हुँदा सङ्कटपूर्ण नै अवस्था छ ।’ कोभिडका कारण रासायनिक मल उत्पादन गर्ने कम्पनी बन्द भएर उत्पादन कम हुँदा विश्व बजारमा मल अभाव देखिएको छ । उनले बोलपत्रको विधिअनुसार मात्रै मल ल्याउन सक्ने अवस्था नरहेकाले वैकल्पिक विधिको प्रयोग गर्नुपर्ने बताए । ‘हामीले पटक/पटक मन्त्रालयमा बोलपत्रमार्फत मात्रै नभएर सरकार–सरकार (जीटूजी)मार्फत मल ल्याउन पहल गर्नुपर्ने कुरा राख्दै आएका छौँ, तर हालसम्म सुनुवाइ नहुँदा किसानले खोजेको समयमा मल पाएनन्’, उनले भने । बङ्गलादेशबाट मल ल्याउँदा सवा अर्ब नाफा गत वर्ष नेपालमा रासायनिक मलको अभाव भएको भन्दै सरकारले बङ्गलादेशबाट ५० हजार मेट्रिकटन युरिया मल खरिद गरेको थियो । सुरुआती चरणमा सापटीमा मल ल्याउने तयारी भए पनि अन्तिम समयमा सरकारले जीटूजीमार्फत मल खरिद गरेको थियो । पचास हजार मेट्रिकटन युरिया मल खरिद गर्दा सरकारलाई रु एक अर्ब २२ करोड बराबर नाफा भएको कृषि सामग्री कम्पनीले जनाएको छ । कम्पनीका प्रबन्ध सञ्चालक भण्डारीले बङ्गलादेशबाट जीटुजीमार्फत ३४१ मेट्रिक टन रासायनिक मल ल्याएकामा अहिले ९४८ डलर पुगेको बताए । हामीले बङ्गलादेशबाट मल ल्याउने सम्झौता गरेपछि मलको मूल्य बढ्न थालेको हो । बङ्गलादेशबाट मल आउन सुरु हुँदा नै प्रति मेट्रिक टन ६७० अमेरिकी डलर पुगेको थियो । अहिले पुनः बढेर ९४८ डलर पुगेको छ । ‘सरकारले जुटीजीमार्फत सम्झौता गरेको हुनाले गत वर्ष बङ्गलादेशबाट मल ल्याउँदा रु सवा एक अर्ब नाफा भएको हो’, उनले भने । साल्ट ट्रेनिङ कर्पोरेशनले जेठमा डिएपी मल ल्याउन नसक्दा अभाव देखिएको जनाएको छ । कम्पनीले अन्तर्राष्ट्रिय रुपमा नै रासायनिक मलमा भएको मूल्य वृद्धिका कारण मल ल्याउन नसक्दा आलु र गहुँ रोप्ने समयमा मलको अभाव देखिएको हो ।
दाइजोबापत मोटरसाइकल र नगद नदिए पछि श्रीमतीको हत्या सप्तरी ।श्रीमतीलाई विष खुवाइ हत्या गरेका अभियोगमा एक व्यक्ती पक्राउ परेका छन्। प्रहरीले बोदे बरसाइन नगरपालिका–५ जाँजरका २५ वर्षीय लुकमान मियाँलाई पक्राउ गरेको हो। आज म्याद थपका लागि जिल्ला अदालत पठाइएको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए । दाइजोबापत मोटरसाइकल र नगद नदिएको जनाउँदै मियाँले परिवारका सदस्यसँग मिलेर २०७६ फागुन २ गते श्रीमती २२ वर्षीया रोशन खातुनलाई विष खुवाएर हत्या गरेको बताइएको छ । शव परीक्षणका कोशी अस्पताल विराटनगरमा भएको थियो । घटनासँगै मृतकका बुबा जहिरुदिनले इलाका प्रहरी कार्यालय कडरबोनामा दिएको जाहेरी दर्ता नभएपछि जहिरुद्दिनले उच्च अदालत जनकपुर, राजविराज इजलासमा परमादेशका लागि मुद्दा दायर गरेका थिए । उच्च अदालत जनकपुर राजविराज इजलाशले २०७७ मङ्सिर २९ गते परमादेश गरेपछि जाहेरी दर्ता गरी लुकमानलाई पक्राउ गरिएको प्रहरी निरीक्षक पासवानले बताए । हत्या आरोपमा लुकमानसहित उनका आमा ४५ वर्षीया सकिना खातुन, सोही ठाउँका ५५ वर्षीय कलिमुल्ला मियाँ, ४७ वर्षीय सरिमुल्ला मियाँ, महादेवा गाउँपालिका–४ का ३२ वर्षीय हजरत मियाँ र सोही ठाउँकी २७ वर्षीया हमिदा खातुन र २९ वर्षीया रेशमा खातुनविरुद्ध जाहेरी दिइएको छ । अन्य आरोपित पक्राउ परेका छैनन् ।
पहिलो अन्तर्राष्ट्रिय खेल खेलिरहेका खेलाडीको मुखमा लाग्यो बल, एम्बुलेन्समा अस्पताल पठाइयो काठमाडौं । वेष्ट इण्डिजको टिम २ टेस्टको सिरिजको लागि अहिले श्रीलंकामा छ । गल्लेमा पहिलो टेस्टको पहिलो दिन आइतबार ठूलो दुर्घटना भयो । आज पहिलो अन्तर्राष्ट्रिय खेल खेलिरहेका वेष्ट इण्डिजका जेरेमी सोलोजानोलाई सर्ट लेगमा फिल्डिङका क्रममा चोट लाग्यो । त्यसपछि उनलाई तत्कालै एम्बुलेन्समा राखेर अस्पताल लगियो । यो घटना खेलको २४ औं ओभरमा भयो । रोस्टन चेजको चौथो बललाई श्रीलंकाका कप्तान दिमुथ करुणारत्नेले लेग साइडमा पुल सट हाने । बल सिधै गएर सर्ट लेगमा फिल्डिङ गरिरहेका सोलोजानोको अनुहारमै लाग्यो । सोलोजानोले हेल्मेट त लगाएका थिए तर उनले तत्कालै हेल्मेट खोले र आत्तिएर ढले । करुणारत्नेले हानेको सट यति शक्तिशाली थियो कि हेल्मेटमा लाग्नासाथ त्यसको पछिल्लो भाग निस्कियो । तत्कालै टिमका फिजिनयो मैदानमा गएर उनको प्राथमिक उपचार गरे । तर, फिजियोको उपचारले पनि उनी उठ्न सकेनन् त्यसपछि तत्काल स्ट्रेचर ल्याएर उनलाई अस्पताल पठाइयो ।
डुबेर युवकको मृत्यु उदयपुर ।जिल्लाको त्रियुगा नगरपालिका–११ पुरानो गाईघाटका ३० वर्षीय युवकको आज चौदण्डीगढी नगरपालिकास्थित खोलामा पौडी खेल्दा डुबेर मृत्यु भएको छ । मृत्यु हुने युवा त्रियुगा नगपालिका–११ का ३० वर्षीय मनोज चौधरी रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । केही युवासँग वनभोज खानका लागि गएका चौधरी २ बजेतिर देवधारखोलामा स्काभेटरले बालुवा उत्खनन गर्दा खनेर कृत्रिम दह बनाएको ठाउँमा पौडी खेल्दा डुबेर अचानक बेहोस भएका थिए । उनलाई तत्काल जिल्ला अस्पताल उदयपुरमा ल्याउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले बताए ।
दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु काठमाडौं ।अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायकमा बागमती प्रदेश०२–०३०प ०१६८ नंको मोटरसाइकल प्रदेश नं ३–०१–००३क ७८५१ नंको टिपरसँग ठोक्किएर आज दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । सूर्यविनायक नगरपालिका–६ राष्ट्रिय वाणिज्य बैंक अगाडि मोटरसाइकलले टिपरलाई दाहिने साइडबाट ओभरटेक गर्ने क्रममा सडक डिभाइडरमा ठोक्किर टिपरको पछाडिको चक्कामा परी दुर्घटना हुँदा काभ्रे रोशी गाउँपालिका–३ घर भई हाल काठमाडौँ कलङ्की बस्ने २२ वर्षीय मिलन तामाङको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । दुर्घटनामा घाइते तामाङको भक्तपुर अस्पतालमा उपचारका लागि लगिएकामा अस्पतालमै मृत्यु भएको उनले जानकारी दिए । प्रहरीले टिपर चालक काभ्रे मण्डनदेउपुर नपा–१० घर भई हाल काठमाडौँ चाबहिल बस्ने २८ वर्षीय सोमबहादुर लामा र दुर्घटनामा परेका दुवै सवारीलाई नियन्त्रणमा लिई प्रहरी बृत्त जगातीमा राखेर थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
दुर्घटनामा एकको मृत्यु, एक घाइते काठमाडौं ।अरनिको राजमार्गअन्तर्गत बलेफी–सुकुटेबीचको क्षेत्रमा आज बिहान सडक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रबिसेका एकबहादुर श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । काठमाडौँबाट बाह्रबिसेतर्फ जाँदै गरेको बा५ख४२८२ नंको आइचर ट्रकले काठमाडौँतर्फ जाँदै गरेको बा ३१ प ५८४ नम्बरको मोटर साइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा मोटर साइकलमा सवार आशिष श्रेष्ठ गम्भीर घाइते भएको र उपचारका लागि उनलाई धुलीखेलतर्फ पठाइएको नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य माधव सापकोटाले जानकारी दिए । बिहान ८ बजे सो घटना भएको प्रत्यक्षदर्शी दुर्गा श्रेष्ठले जानकारी दिए । ठक्कर दिने ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दक्षकुमार बस्नेतले जानकारी दिए । प्रहरीका अनुसार शव परीक्षणका लागि धुलिखेल लगिएको छ ।
मौसममा क्रमिक सुधार काठमाडौं ।अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभावले विगत तीनदिनदेखि बिग्रिएको नेपालको मौसममा आजदेखि क्रमिकरुपमा सुधार आएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यद्यपि उक्त मौसमी प्रणालीको आंशिक प्रभाव कायमै रहेकाले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका एक÷दुई स्थानमा हल्का वर्षा हुनका साथै उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । राजधानी काठमाडौँसहित देशका अधिकांश स्थानमा लगातारको बदली हटेको छ । काठमाडौँ उपत्यकामा बिहानैदेखि पारिलो घाम लागेकाले विगतका दिनभन्दा केही न्यानो महशुस गरिएको छ । आज काठमाडौँको अधिकतम तापक्रम तापक्रम १९ दशमलव ५ र न्यूनतम तापक्रम ७ दशमलव ८ डिग्रि सेल्सियस रहेको छ । यही मङ्सिर २ गतेदेखि देशका अधिकांश स्थानमा बदली र उच्च हिमाली भेगमा हल्का हिमपात भएको थियो । महाशाखाका अनुसार अहिले देशका सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका भू–भागमा सामान्य बदली रही बाँकी प्रदेशका भूभाग आंशिकदेखि सामान्य बदली रहेको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । रातिको समयमा पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका भू–भागमा सामान्य बदली रही बाँकी प्रदेशका भू–भाग आंशिकदेखि सामान्य बदली रहनेछ । गण्डकी र कर्णाली प्रदेशका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । भोली आइतबार पनि देशका पहाडी भु–भागमा सामान्य बदली रही काँकी भू–भागहरुमा आंशिक बदली रहनेछ । बागमती, गण्डकी र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
विद्युत्को करेन्ट लागेर महिलाको मृत्यु काठमाडौं ।पाल्पामा माछा मार्न लगाइएको विद्युत्को करेन्ट लागेर महिलाको मृत्यु भएको रहस्य बाहिर आएको छ । पाल्पा रैनादेवी छहरा गाउँपालिका–२ तासियलका बलबहादुर विकको श्रीमती ३२ वर्षीय सुमित्रा विकको माछा मार्न लगाइएको विद्युत्को करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएका छन् । घरबाट सर्दी खेतमा गएकी विकलाई खोलामा पस्दा स्थानीय युवाले माछा मार्न लगाएको करेन्ट लागेको थियो । करेन्ट लागेर अचेत अवस्थामा रहेकी विकलाई उपचारका लागि युनाइटेड मिसन अस्पतालमा लगिएको थियो । अस्पतालमा चिकित्सकले मृत्यु भएको घोषणा गरेका थिए । सोही घटनामा सङ्लग्न रहेको भन्दै प्रहरीले छ जनालाई पकाउ गरेको छ । पक्राउ पर्नेमा रैनादेवी छहरा–२ बस्ने हुमबहादुर घर्ती, हरिप्रसाद पाण्डेय, अलि बुढा, पदमबहादुर गाहा र धनबहादुर गाहा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले बताए। सूर्य गरजा र लालबहादुर बुढा भने फरार रहेका छन् । मङ्गलबार विकको मत्यृ भए पनि प्रहरीले दुईपछि बिहीबार मात्र घटनामा सङ्लग्नलाई पक्राउ गरेको हो ।
बैंकिङ कसुर मुद्दाका फरार लिम्बु पक्राउ काठमाडौं ।नेपाल प्रहरीले बैंकिङ कसुरजन्य अपराधका फरार अभियुक्तलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बैङ्किङ कसुर मुद्दामा फरार ताप्लेजुङ फुङलिङ नगरपालिका–११ घर भई काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–३ चपली बस्दै आएका ४६ वर्षीय आन्दीराम इजम लिम्बुलाई आज पक्राउ गरेको हो । ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत पाटनको विसं २०७६ मङ्सिर १० को फैसलापछि पाँच दिन कैद सजाय र बिगोबमोजिम रु ३० लाख जरिवना हुने फैसला गरेपछि फरार लिम्बुलाई आज भक्तपुरको नयाँठिमीबाट पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका लिम्बुले आफ्नो सिद्धार्थ बैँक लिमिटेडको खातामा पर्याप्त मौज्दात नहुँदा नहुँदै विभिन्न व्यक्तिलाई झुक्याउँदै चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेका थिए । उच्च अदालतले उनलाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अनुसार उक्त फैसला सुनाएको थियो । पक्राउ परेका लिम्बुलाई फैसला कार्यान्वयनका लागि आजै काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको प्रवक्ता महतोले बताए ।
मुगुकी ६ वर्षीया बालिका खोलामा बेपत्ता मुगु ।मुगुमा एक बालिका बिहीबारदेखि बेपत्ता भएकी छन् । जिल्लाको खत्याड गाउँपालिका(४ का प्रकाश थापा की ६ वर्षीया छोरी रियाना थापा पौडी खेल्ने क्रममा बिहीबारदेखि बेपत्ता भएकी हुन् । बिहीबार ४ बजे तिर आफ्नै घर नजिकैको खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक सुवास हमालले बताए । उनका अनुसार बिहीबारदेखि माझचौर प्रहरी पोस्टका प्रहरी र घर परिवार तथा स्थानीयहरूले खोज तलास गरिरहेका छन् । लगातार खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।
कछुवासहित दुई पक्राउ काठमाडौं ।सशस्त्र प्रहरीको एक टोलीले काठमाडौँको टोखा नगरपालिका–७ ग्राण्डी अस्पताल नजिकैबाट आज सुन कछुवासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा दोलखा घर भई सोही नगरपालिका–३ बस्ने ५० वर्षीय सञ्जु तामाङ र सोलुखुम्बुको सोताङ गाउँपालिका– १ बस्ने २४ वर्षीय अमीर राई छन् । उनीहरूलाई विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नं ९ पशुपतिनाथ बाहिनी मुख्यालयबाट खटिएको सशस्त्र प्रहरीले उक्त कछुवासहित पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई कछुवासहित आवश्यक कारवाहीका लागि प्रहरीचौकी टोखामा बुझाइएको छ ।
महान सुपुत्र जन्माउने आमा बुबा भाग्यमानी हुन्ः स्वामी रामदेव काठमाडौँ ।योगऋषि स्वामी रामदेवले महान सुपुत्रलाई यस धर्तीमा जन्म दिने आमाबुवा भाग्यमानी भएको बताएका छन् । स्याङ्जाको वालिङ–६ भरुवास्थित आयुर्वेद शिरोमणि आचार्य बालकृष्णजी महाराजका पिता जयबल्लभ सुवेदीको आज आयोजित चौरासी पूजामा उनले यस्ता महान सुपुत्र जन्माउने भाग्यमानी आमाबुवाको यसरी नै १०० वर्ष हर्सोल्लाससहित जन्मदिवस मनाउन पाइयोस् भन्ने शुभकामनासमेत व्यक्त गरे । सोही अवसरमा आचार्य बालकृष्णजी महाराजले आमाबुबासँगै सशरीर रहेर सेवा गर्न नपाए पनि आफ्नै आमाबुबा जस्तै करोडौँलाई पतञ्जलिमार्फत सेवा गर्न पाएकामा खुसी व्यक्त गरे । आफू अहिले जुन ठाउँमा भए पनि आफ्नो बाल्यकाल बितेको ठाउँको सम्झना, झझल्को आइरहने गरेको उनले बताए । योगगुरु रामदेव र आफ्नो शरीर दुई वटा भए पनि विचार, भावना र कर्म एउटै भएको आचार्य बालकृष्णले बताए । नेपालका लागि पतञ्जलिमार्फत थुप्रै योजना बनाएको बताउँदै उनले मिलेर कार्य गर्ने धारणा व्यक्त गरे । बुबाको सहस्र पूर्णचन्द्र दर्शनका अवसरमा आयोजना गरिएको लघुरुद्री, श्रीमद्भागवत पाठ पारायण, चौरासी पूजा एवं लाखबत्ती (लक्ष्यवर्ती) कार्यक्रममा सहभागी हुन आएका हुन् । उनीहरू आज नै काठमाडौँ फर्किएका छन् । आयुर्वेद शिरोमणि आचार्य बालकृष्ण पिता जयबल्लभ सुवेदीका ज्येष्ठ सुपुत्र हुन् ।
ए डिभिजन लिगः उद्घाटन खेलमा सातदोबाटो र फ्रेण्ड्सले अंक बाढे काठमाडौं । नवप्रवेशी सातदोबाटो यूथ क्लबले शुक्रबार सहिद स्मारक ‘ए’ डिभिजन लिगमा दश खेलाडीमा सीमित फ्रेण्ड्स क्लबसँग गोलरहित बराबरी खेल्दै अंक बाढेको छ । निर्धारित समय भन्दा ८ मिनेट ढिला गरी सुरु भएको खेलमा बराबरी गरेपछि दुवै टोलीले एक एक अंक बाडेका छन् । पहिलो हाफमा दुवै टोलीले गतिलो ‘मुभ’ बनाउन सकेनन् । दोस्रो हाफमा दुवै टोलीले गोलका केही राम्रो अवसर सिर्जना गरे पनि सदुपयोग गर्न नसकेपछि अंक बाँड्न बाध्य भएका हुन् । खेलको ७६औं मिनेटमा रोनेल एन्थोनी पाउलले दोस्रो पहेँलो कार्डको सामना गरेपछि फ्रेण्ड्स दश खेलाडीमा सीमित भएको थियो । पाउलले सातदोबाटोका सुशील राईलाई फाउल गरेपछि रेफ्री प्रज्वल क्षेत्रीले रातो कार्डको देखाएका थिए । फ्रेण्ड्सले बाँकी १४ मिनेट दश खेलाडीमा रहेर खेलेको थियो । तर सातदोबाटो त्यसको फाइदा लिन भने सकेन । सातदोबाटोले ५५औं मिनेटमा अग्रता लिने राम्रो अवसर खेर फालेको थियो । सातदोबाटोका सुशील राईले हानेको प्रहार विपक्षी रक्षकलाई लागेर पोस्टमा गएको थियो । जुन फ्रेण्ड्सका गोलकिपर राहुल यादवले सजिलै बचाएका थिए । त्यसको दुई मिनेट बित्न नपाउँदै सातदोबाटोका आकाश बुढामगरले हानेको प्रहारलाई पनि फ्रेण्ड्सका गोलकिपर राहुलले पन्च गरेर बचाइदिएका थिए । फ्रेण्ड्स क्लबमा जमौल एन्थोनी फ्रान्कोइसले हानेको प्रहार क्रसबारमा लागेर फर्किएको थियो । तर रिबाउन्डमा प्राप्त बल लिने कोही नहुँदा फ्रेण्ड्सले अग्रता लिने राम्रो मौका गुमाएको थियो । फ्रेण्ड्सका फ्रान्कोइसले नै ६६औं मिनेटमा पनि गोल गर्ने अवसर खेर फालेका थिए । उनले पेनाल्टी बक्स बाहिरबाट हानेको प्रहार विपक्षी रक्षक पिटर सेगुनको खुट्टामा लागेर गएको बल सातदोबाटोका रक्षक अभिषेक बरालले मुस्किलले पन्च गरेर बचाएका थिए । शनिबार लिगमा दुई खेल हुनेछ । दिउँसो १ बजे हुने पहिलो खेलमा हिमालयन शेर्पा र संकटा क्लबले प्रतिस्पर्धा गर्नेछन् । साँझ ४ः४५ बजे हुने दोस्रो खेलमा ललितपुरका च्यासल यूथ र थ्री स्टार क्लबले खेल्नेछन् ।
घर भत्किँदा बालक गम्भीर घाइते काठमाडौं ।ढल्कुमा घर भत्किँदा चार वर्षीय बालक गम्भीर घाइते भएका छन् । काठमाडौँ महानगरपालिका– १७ मा अत्यन्तै जीर्ण अवस्थामा रहेको उक्त घर भत्किँदा बालक घाइते भएका हुन् । उनलाई प्रहरीले उद्धार गरी उपचारका लागि अस्पताल पठाएको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए । उनका अनुसार घरमा कोही पनि नभएका अवस्थामा केही समयअघि घर भत्किएको र बालक भाग्न लाग्दा घरले च्यापेर गम्भीर घाइते भएको प्रहरीको भनाइ छ । उक्त घटनाका कारण अन्य मानवीय क्षति भएको छैन । क्षतिको विवरण आउन बाँकी रहेको उपरीक्षक बस्नेतको भनाइ छ ।
नग्न तस्बीर, भिडियो पठाउन लगाएर पीडा दिने पक्राउ काठमाडौँ ।नेपाल प्रहरीले सामाजिक सञ्जाल इन्स्टाग्राम तथा फेसबुकमार्फत नाबालिकाको चरित्र हत्या गर्ने एकजनालाई पक्राउ गरेको छ । प्रहरीको साईबर ब्यूरोले सामाजिक सञ्जाल इन्स्टाग्राम तथा फेसबुकमार्फत नाबालिका तथा युवतीलाई साथी बनाएर धाकधम्की देखाई नग्न तस्बीर तथा भिडियो पठाउन लगाएर पीडा दिने काठमाडौँ महानगरपालिका–२२ भोटेबहालका २० वर्षीय लव खड्गीलाई बिहीबार पक्राउ गरेको हो । ब्यूरोका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नविन्द अर्यालले सामाजिक सञ्जालको दूरुपयोग गरी चरित्र हत्यामा सङ्लग्न भएकाले खड्गीलाई बिहिबार पक्राउ गरी आज सार्वजनिक गरिएको जानकारी दिए । प्रहरीले विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौँको अनुमति लिएर पक्राउ गरेको हो । पक्राउ खड्गीलाई जिल्ला अदालत काठमाडौँको आदेशअनुसार पाँच दिन म्याद थप गरी अनुसन्धान गरिरहेको प्रवक्ता अर्यालले बताए ।
माघ १२ गते राष्ट्रियसभा सदस्य निर्वाचन काठमाडौं ।सरकारले आगामी माघ १२ गतेका लागि राष्ट्रियसभा सदस्य निर्वाचनको मिति तोकेको छ । मन्त्रिपरिषद्को यही मङ्सिर २ गते बसेको बैठकले सो निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकबारे जानकारी दिन आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका मन्त्री ज्ञानेन्द्रकहादुर कार्कीले भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसङ्घीय महासन्धिको पक्ष राष्ट्रहरूको इजिप्टमा हुने नवौं सम्मेलनमा भाग लिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय गरेको जानकारी दिए । उनका अनुसार बैठकले नेपाल चार्टड एकाउन्टेन्स् संस्थाको पार्षद्मा नायब महालेखापरीक्षक बैकुण्ठबहादुर अधिकारी, सहसचिव बाबुराम सुवेदी र सहमहालेखा नियन्त्रक उमाकान्त आचार्यलाई मनोनयन गर्ने निर्णय गरेको छ । बैठकले विद्यतुतीय ग्रीड आधुनिकीकरण आयोजनाका लागि एशियाली विकास बैंकबाट प्राप्त हुने थप सहुलियतपूर्ण ऋण सहायता ६० मिलियन अमेरिकी डलर स्वीकार गर्ने निर्णयसमेत गरेको छ । यसैगरी मोरक्कोमा आयोजना हुने इन्टरनेशनल एक्जुकेटिभ काउन्सिल अफ आइइसी सम्मेलनमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सागरकुमार राईलाई सहभागी हुन स्वीकृति दिने निर्णय पनि गरिएको मन्त्री कार्कीले जानकारी दिए । उनका अनुसार एशियन–अफ्रिकन लिगल कन्सल्टटेटिभ अर्गनाइजेसन (एएएलसिओ) को ५९ औं वार्षिक सभामा भाग लिन कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाल बडुको नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय भएको छ । यसैगरी दक्षिण कोरियामा हुने यूएन पिसकिपिङ मिनिस्टेरियल मिटिङमा भाग लिन रक्षामन्त्री डा मीनेन्द्र रिजालको नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय पनि बिहीबारको मन्त्रिपरिषद् बैठकले गरेको छ ।
कट्टुभित्र सुन राखेर आएका दुई जना विमानस्थलमा पक्राउ काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलो सुनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । दुबईबाट शुक्रबार विहान काठमाडौं ओर्लिएका दाङका सीताराम चौधरी र सिरहाका सरोज सहनीलाई कट्टुभित्र एक/एक किलो लेदो अवस्थामा पोको पारेर राखिएको सुनसहित नियन्त्रणमा लिइएको विमानस्थल सुरक्षा प्रमुख एसएसपी राजेश बाँस्तोलाले जानकारी दिए । सुन ल्याउने दुबै जना वैदेशिक रोजगारीका सिलसिलामा गएको र नेपाल आउँदा भारतीय नागरिकले पठाएको वयान दिएका छन् । ‘अन्दाजी दुई किलो हो । भन्सारमा बुझाउँदैछौं,’ एसएसपी बाँस्तोलाले भने, ‘इण्डियनले पठाएको भनेका छन् । थप अनुसन्धान हुँदैछ ।’ उनकाअनुसार दुबै जनाले भित्रि वस्त्र अन्डरवेयरभित्र कपडाको सेनिटेरी प्याडजस्तो बनाएर सुन विमानस्थलको एक्सरे मेसिन पार गराएका थिए । तर पार्किङस्थलमा अस्वभाविक हाउभाउ देखाएपछि प्रहरीले खानतलासी गर्दा सुन फेला परेको हो ।
“म्यानपावर कम्पनीले श्रमिकसँग तोकिएभन्दा ठूलो रकम लिँदै आएका छन्” काठमाडौं।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले वैदेशिक रोजगारीका लागि तोकिएको सेवा शुल्कभन्दा बाहिर ठूलो रकमको कारोबार हुने गरेको र त्यसबाट राज्य र श्रमिक दुवै पक्ष ठगिएकाले सेवा शुल्कका बारेमा पुनःविचार हुनुपर्ने बताए । वैदेशिक रोजगार बोर्डको सहयोगमा वैदेशिक रोजगार पत्रकार समाजले आज यहाँ आयोजना गरेको ‘वैदेशिक रोजगारको वर्तमान अवस्था र सुधारका प्रतिबद्धता’ विषयक अन्तरक्रियामा उनले सरकारले खाडीसहित केही मुलुकका लागि सेवा शुल्क १० हजार तोकेको छ तर म्यानपावर कम्पनीले श्रमिकसँग तोकिएभन्दा ठूलो रकम लिँदै आएका छन् भन्दै उनले एक महिनाको पारिश्रमिक बराबरको रकम सेवा शुल्क तोक्ने विषयलाई अगाडि बढाउन मन्त्रालयले तयारी गरेको बताए । “गन्तव्य मुलुकसँगको श्रम सम्झौतालाई कामदार मैत्री बनाउने र श्रम सम्झौतालाई पारदर्शी बनाउन सरकार लागेको छ”, उनले भने, “सीपयुक्त जनशक्ति मात्र वैदेशिक रोजगारीमा पठाउने, विप्रेषणलाई वैधानिक तबरबाट भित्र्याउन सरकारले तयारी गरेको छ ।”
लागुऔषध ओसारपसारको नयाँ रूप, ट्याक्टरमा ‘फल्स बेस बक्स’ काठमाडौं ।नेपालबाट भारततर्फ लैजाँदै गरेको १८० केजी गाँजा प्रहरीले बरामद गरेको छ । सुनसरी देवानगञ्ज ४ नेपाल(भारत सीमानामा ट्याक्टरको टलीभित्र फल्स बेस बक्स बनाई भारत निर्यात गर्न लागेको १८० केजी गाँजा बरामद गरेको हो । गाँजासहित स्थानीय सन्तोष कुमार मेहतालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सञ्जय सिंह थापाले जानकारी दिए । उनको साथबाट एक थान मोटरसाइकल, एक थान ओसारपसारमा प्रयोग हुने ट्याक्टर बरामद गरिएको छ । नेपाली बजारमा प्रति केजी १३ हजारमाथि खरीद बिक्री हुने गरेको छ । भारतमा प्रतिकेजी २५ हजार माथिमा बिक्री हुने गरेको छ ।
शिक्षकको तथ्याङ्क उपलब्ध गराउन निर्देशन काठमाडौं ।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सामुदायिक विद्यालयमा दरबन्दी मिलान विद्युतीय अभिलेखमा समस्या देखिएकाले शिक्षकको यथार्थ विवरण उपलब्ध गराउन शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशन दिएका छन् । शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्र भक्तपुरले आयोजना गरेको शिक्षा एकाइका प्रमुखको कार्यशालामा मन्त्री पौडेलले देशभरका सरकारी विद्यालयका प्रधानाध्यापकले गरेका कामको तथ्याङ्क मागे । दरबन्दी मिलानका क्रममा कम्प्युटर, ल्याबको समस्या भएको भन्दै शिक्षा एकाइका प्रमुखलाई त्यसको तथ्याङ्क लिएर मन्त्रालयमा पठाउन उनले निर्देशन दिएका हुन् ।
सप्तरीमा गोरुगाडा प्रतियोगिता काठमाडौं ।सप्तरीको खडक नगरपालिका र बोदेबरसाइन नगरपालिकाको बीचमा पर्ने खडक नदीमा जारी नवाह यज्ञको अन्तिम दिन बिहीबार गोरुगाडा दौड प्रतियोगिता आयोजना गरेको छ । सहभागी मध्ये सप्तरी गौराका कृषक श्यामप्रसाद यादवको गोरुलगाडाले प्रथम, सप्तरी डहवारीका महेन्द्र यादवको गोरुगाडाले दोस्रो पुरस्कार, गौरा गाउँको मुकेश यादव गोरुगाडाले तेस्रो पुरस्कार, यसैगरी जोगिया गाउँका भागवतप्रसाद यादव गोरुगाडाले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् । प्रथम हुनेलाई २ तोला चाँदीको तकमा, २५ केजी पिना, एक बाल्टिन, २ घुघंरू र एक गम्छाबाट पुरस्कृत गरिएको छ । दोस्रो हुने १.५ तोला चाँदीको तकमा, २० केजी पिना, एक बाल्टिन, २ घुघंरू, एक गम्छाबाट पुरस्कृत गरिएको छ । त्यस्तै तेस्रो हुने १ तोला चाँदी, २० केजी पिना, एक बाल्टिन र एक गम्छाबाट पुरस्कृत गरिएको छ । सान्त्वना पुरस्कार प्राप्त गर्नेले पुरस्कार स्वरूप ५ सय नगद प्राप्त गरेका छन् । खडक नगरपालिका वडा नम्बर २ का अध्यक्ष दिगम्बर यादवले गोरु पाल्ने, गाडाको प्रयोग गर्नेहरूको बिस्तारै कमी हुन थालेकोले गोरु पाल्ने, गाडा प्रयोग गर्नेलाई प्रोत्साहन गर्नका निम्ति यो प्रतियोगिता आयोजना गरेको बताए ।
सामूहिक बलात्कारपछि मारेको आरोपमा दुई पक्राउ काठमाडौं ।महोत्तरीको भङ्गहा नगरपालिका–२ बखरीको ३५ वर्षीया एक महिलालाई सामूहिक बलात्कारपछि मारेको आरोपमा फरार दुई जनालाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका–३ पर्सा पकडिया बस्ने ४२ वर्षीय मनोजकुमार यादव र निजका साथी महोत्तरीकै भङ्गहा नगरपालिका–५ सीतापुर गाउँ बस्ने २४ वर्षीय विपिन मण्डल रहेको प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले आज दिउँसो आयोजित पत्रकार सम्मेलनमा बताए । गत असोज १३ गते ३५ वर्षीया एक महिलालाई आरोपित दुवैले वनमा लगेर बलात्कार गरेको स्वीकार गरेका छन् । बेहोस अवस्थामा रहेकी ती महिलालाई गाउँकै निजी स्वास्थ्य क्लिनिकमा र दिउँसो अवस्था झन बिग्रिए पछि प्रादेशिक अस्पताल जनकपुर लगेकोमा उनको उपचारकै क्रममा १४ गते राति मृत्यु भएको थियो । मण्डल र अर्का आरोपी यादवलाई बुधबार पक्राउ गरी आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो । दुवैलाई जबरजस्ती करणी तथा हत्या मुद्दामा कारबाही अगाडि बढाइएको छ ।
रोल्पामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु, ११ घाइते दाङ ।रोल्पामा फेरि सवारी दुर्घटना भएको छ । यात्रुवाहक बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । दाङको घोराहीबाट रोल्पाको थवाङका जाँदै गरेको ना ३ ख ५५१८ नम्बरको बस माडी गाउँपालिका २ मा दुर्घटना भएको हो । दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने ११ जना घाइते भएको रोल्पा प्रहरीले जनाएको छ । बस शहिदमार्गअन्तर्गत माडी गाउँपालिका वडा नम्बर २ जलजलामा दुर्घटनामा परेको रोल्पाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक कृष्ण रानाले जानकारी दिए । बसमा सवार १८/२० जना सवार रहेको अनुमान गरिएको छ । बस सडकदेखि १०० फिट तल खसेको छ । विस्तृत विवरण आउन बाँकी छ ।
दुर्घटनामा दुई जनाको मृत्यु, ६ जना घाइते सप्तरी ।पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कञ्चनपुरमा बिहिबार बस र हायस एक आपसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ ।घटनामा ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा हायसमा सवार काठमाडौँ बस्ने ३८ वर्षीय ग्रीसमान सिंह र विराटनगर बस्ने ४१ वर्षीय चूडाबहादुर बस्नेत रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए । सिंहको घटनास्थलमा नै मृत्यु भएको थियो भने बस्नेतको विराटनगरस्थित गोल्डेन अस्पतालमा लादै गर्दा अस्पताल बाटोमै मृत्यु भएको थियो । उक्त दुर्घटनामा ६ जना घाइते भएका छन् । जस मध्ये दुई जनाको अवस्था गम्भीर छ।उनीहरूको विराटनगरस्थित गोल्डेन अस्पताल र बाँकीको कञ्चनरुप नगरपालिकास्थित धर्मेश्वर अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । काठमाडौँबाट पूर्वतर्फ जाँदै गरेको बा ४ख ५०७९ नम्बरको हायसलाई पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना५ख ४६९२ नम्बरको बसले ठक्कर दिएको थियो । प्रहरी प्रवक्ता काफ्लेले दुबै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएका छन्।
गोला लागू नभए पनि शुक्रबारबाट सबै न्यायाधीश इजलास फर्कने, बन्दी, मिलापत्र र मुद्दा फिर्तामा मात्र सुनुवाइ काठमाडौं । फुलकोर्ट बैठक बसेर गोलाप्रथाद्वारा मुद्दाको पेसी तोक्नेसम्बन्धी नियमावली र निर्देशिका संशोधन गरेका न्यायाधीशहरू शुक्रबारबाटै इजलास फर्कने भएका छन् । यसअघि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले तोकेको पेसीका मुद्दा सुनुवाइ नगर्ने अडानमा रहेका न्यायाधीशहरू नियमावली र निर्देशिका संशोधन राजपत्रमा प्रकाशित नभए पनि शुक्रबारबाट इजलास फर्कन तयार भएका हुन् । गोलाप्रथा सुरू भएपछि सबै मुद्दामा सुनुवाइ गर्ने निर्णय गरेका न्यायाधीशहरूले शुक्रबारबाटै बन्दीप्रत्यक्षीकरण, मुद्दा फिर्ता र मिलापत्र सम्बन्धी रिट र मुद्दाको भने सुनुवाइ गर्ने भएका छन् । ‘हामी अब बन्दी, मिलापत्र र मुद्दा फिर्ताका विवादमा भने इजलास बसेर सुनुवाइ गर्छौ । अन्य मुद्दामा भने राजपत्रमा सूचना आएर फुलकोर्टले गोला लागु गरेको दिनबाट मात्र मुद्दा हेर्छौ,’ एक न्यायाधीशले भने । यी विवादमा कानुन व्यवसायीको उपस्थिति नभए पनि आदेश गर्न मिल्ने भएकाले न्यायाधीशहरू तीन प्रकारका विवाद हेर्न सहमत भएका हुन् । उनका अनुसार यी मुद्दामा प्रधानन्यायाधीशसँग बेञ्च सेयरिङ हुने छैन भने प्रधानन्यायाधीशले राजपत्रमा सूचना प्रकाशनको प्रक्रियाअघि नबढाए पुनः यी विवादमा सुनुवाइ हुने छैन । इजलास फर्किएर मुद्दा सुनुवाइ थाल्ने बताए पनि नेपाल बार बहसमा नआउने भएकाले उनीहरूले प्रधानन्यायाधीशसँग बेन्च सेयरिङ गर्ने निर्णय गरेका हुन् । ‘राजपत्रको सूचनाअनुसार फुलकोर्टले गोलाबाट मुद्दा हेर्ने मिति तोकेपछि सबैखाले मुद्दा हेर्छौ, तर प्रधानन्यायाधीश र बारबीच सहमति नभएसम्म जबरासँग इजलास सेयरिङ हुन्न,’ ती न्यायाधीशले भने । उनका अनुसार गोला लागु भएपछि कानुन व्यवायी बहसमा नआएपनि इजलास भने जाने विषयमा न्यायाधीशहरू एकमत छन् । तर, कानुन व्यवसायीबिना मुद्दा सुनुवाइअघि नबढ्ने भएकाले प्रधानन्यायाधीशले निकास नदिएसम्म सर्वोच्चमा नियमति सुनुवाइ भने प्रभावित हुनेछन् ।
दुर्घटनमा दुईको मृत्यु काठमाडौं ।पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनपुरमा आज साँझ बसले हायसलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा हायसमा सवार काठमाडौँ बस्ने ३८ वर्षीय ग्रीसमान सिंह र विराटनगर बस्ने ४१ वर्षीय चूडाबहादुर बस्नेत रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । सिंहको घटनास्थलमा नै मृत्यु भएको छ भने बस्नेतको विराटनगरस्थित गोल्डेन अस्पतालमा लगिँदै गर्दा अस्पताल नजिक ज्यान गएको प्रहरीले जनाएको छ । सो दुर्घटनामा गम्भीर दुई जनासहित ६ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको विराटनगरस्थित गोल्डेन अस्पताल र बाँकीको कञ्चनरुप नगरपालिकास्थित धर्मेश्वर अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । काठमाडौँबाट पूर्वतर्फ जाँदै गरेको बा४ख ५०७९ नम्बरको हायसलाई पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना५ख ४६९२ नम्बरको बसले ठक्कर दिएको थियो । दुवै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाइएको छ ।
बारलाई नमनाएसम्म प्रधानन्यायाधीशसँग बेन्च सेयरिङ नगर्ने न्यायाधीशहरूको निर्णय काठमाडौं ।पूर्ण बैठक बसेर गोलाप्रथाबाट मुद्दा सुनुवाइ गर्ने निर्णय गरेका न्यायाधीशहरूले नेपाल बार एसोसिएसन र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराबीच सहमति नभएसम्म जबरासँग बेन्च सेयरिङ नगर्ने सहमति गरेका छन् । इजलास फर्कने असन्तुष्ट न्यायाधीशको कदमप्रति नेपाल बारले शंका व्यक्त गरेको भन्दै न्यायाधीशहरूले आफूहरू गोलाप्रथाबाट मुद्दा हेर्न इजालास गए पनि जबरासँगको इजलासमा भने नबस्ने निर्णय गरेका हुन् । बैठकपछि कुरा गर्दै सर्वोच्च अदालतका एक न्यायाधीशले भने, ‘गोलाप्रथाअनुसार हामी मुद्दा हेर्न इजलास जान्छौं, तर बार र प्रधानन्यायाधीशबीच सहमति नभएसम्म हामी उहाँ (जबरा) सँग इजलास सेयर गर्दैनौं ।’ ती न्यायाधीशका अनुसार जबराविरुद्ध बारले थालेको आन्दोलनमा समर्थनस्वरूप यस्तो निर्णय गरिएको हो । इजलास नफर्कंदा जनताले सास्ती पाएको भन्दै फर्कन राजी भएको, तर प्रधानन्यायाधीशमाथि बारले उठाएका प्रश्नमा न्यायाधीशहरू एकमत रहेको उनको भनाइ छ ।
दुर्घटनामा ट्र्याक्टर चालकसहित दुईको मृत्यु काठमाडौं ।उदयपु्रगढी गाउँपालिका–६ दनुवारबेँसीमा आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा गम्भीर घाइते भएका चालकसहित दुई जनाको मृत्यु भएको छ भने अन्य डेढ दर्जन व्यक्ति घाइते भएका छन् । दुर्घटनामा घाइते भएका त्रियुगा नगरपालिका–९ गैरुन बस्ने ४० वर्षीय बौवा सदाको उपचारका क्रममा जिल्ला अस्पताल उदयपुरमा र ट्र्याक्टर चालक त्रियुगा नगरपालिका–१० करमगाछीका २० वर्षीय दिवस सार्कीको उपचारका क्रममा विटानगरस्थित न्यूरो अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ । दुर्घटनामा गैरुनकै १६ वर्षीय सकुन सदासहित अन्य डेढ दर्जन व्यक्ति घाइते भएका छन् तीमध्ये पाँच जना गम्भीर रहेको र उनीहरुको विराटनगरमा उपचार भइरहेको छ । अन्य घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय उदयपुरका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले बताए । गाईघाटबाट जिल्लाको पश्चिमी पहाडी क्षेत्रको ताप्लीस्थित रुपाटार जाँदै गरेको प्रदेश२–०१–००१–त १०८३ नंको ट्र्याक्टर बिहान ९ः३० बजे उदयपुरगढी गाउँपालिका–६ दनुवारबेँसीमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
बालिकालाई जबर्जस्ती यौन कार्यमा काठमाडौं ।काठमाडौँ उपत्यकाका विभिन्न होटलमा बालिकालाई जबर्जस्ती यौन कार्यमा लगाउने अवाञ्छित गतिविधि अझै हट्न सकेको छैन ।प्रहरीको मानव बेचबिखन तथा अनुसन्धान ब्युरोले हालैमात्र यसरी बालिकालाई घरेलु कामदारका रूपमा राखी डर त्रास देखाएर यौन कार्यमा समेत लगाएको तथ्य फेला पारेको छ । बालमैत्री शासन, बाल यौन शोषणविरुद्धका विभिन्न अभियान तथा प्रहरी र सामाजिक संस्थाको सक्रियतामा बालबालिकालाई घरेलु कामदारमा लगाउन नहुने भनेर सचेतनामूलक कार्यक्रम गरिए पनि कार्यान्वयन हुन नसकेको उक्त तथ्यले पुष्टि गर्छ । काठमाडौँ महानगरपालिका–३२ कोटेश्वरस्थित नेवारी खाजा घरमा एक बालिकालाई यसरी यौन कार्यमा लगाएको आरोपमा प्रहरीले गुल्मी जिल्लाको सत्यवती गाउँपालिका–४ घर भई ललितपुर बस्ने नेत्रलाल ज्ञवालीलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । उनीलगायतका व्यक्तिले ती बालिकालाई गएको वैशाखदेखि बन्धक बनाई धाकधम्की दिएर विभिन्न व्यक्तिसँग शारीरिक सम्पर्क गर्नसमेत लगाउने गरेको खुलेको ब्युरोले जनाएको छ । बालिकालाई उनीहरुले घरसमेत जान नदिई कोठा तथा अन्य गेष्ट हाउसमा पु¥याएर दैनिक तीनदेखि पाँच जनासम्म शारीरिक सम्बन्ध गाँस्न लगाएको प्रहरीको आरोप छ । उनीहरुले होटलमा प्रहरी निरीक्षणमा आउँदा भने हामी आफ्नो स्वेच्छाले होटलमा काम गर्न आएको भन्न लगाउने गरेकोसमेत खुलेको छ । यसरी जबर्जस्तीरूपमा यौन कार्यमा लगाइएकी ती बालिकालाई गत भदौ २५ मा मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले उद्धार गरेको थियो । त्यसपछि प्राप्त जाहेरीका आधारमा अनुसन्धान गर्दा ज्ञवालीलाई पक्राउ गरी काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी थप तथ्य बुझ्ने कार्य जारी राखिएको प्रहरीले जनाएको छ । उनीमाथि मानव बेचबिखन तथा ओसारपसार ९नियन्त्रण० ऐन, २०६४ अनुसार अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक अनुरागकुमार द्विवेदीले जानकारी दिए ।
सुदूरपश्चिममा १३ सङ्क्रमित थपिए काठमाडौं ।सुदूरपश्चिम प्रदेशमा आज थप १३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट एक हजार ४१ जनाको नमूना परीक्षण गर्दा १३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । आरटी पीसीआर १० एन्टीजेन विधिमार्फत तीन जनामा सङ्क्रमण देखिएको हो । पीसीआर विधिमार्फत सेती प्रादेशिक अस्पतालमा १० र एन्टीजेन विधिमार्फत कञ्चनपुरका तीन जनामा सङ्क्रमण पुष्टि भएको छ । यस्तै गएको २४ घण्टामा प्रदेशभर सात जनाले कोरोना जितेका छन् । सो अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन । यसअघि मङ्गलबार यस प्रदेशमा ११ सङ्क्रमण पुष्टि हुँदा सात जना सङ्क्रमणमुक्त भएका थिए ।
अदालतमा देखिएको समस्या समाधानका लागि महासङ्घको अपिल काठमाडौं ।नेपाल पत्रकार महासङ्घले विगत केही समयदेखि सर्वोच्च अदालतमा देखिएको समस्या समाधानका लागि संसद्, सरकार र राजनीतिक दललाई आवश्यक पहल र अग्रसरताको लागि अपिल गरेको छ । महासङ्घले मुलुकको संवैधानिक निकाय सर्वोच्च न्यायालयमा लामो समयदेखि गम्भीर समस्या उत्पन्न हुँदा जननिर्वाचित संसद्, सरकार र राजनीतिक दलले देखाएको आश्चर्यजनक मौनताप्रति पनि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासङ्घले आज प्रेस विज्ञप्ति जारी गरी आन्दोलनरत पक्षलाई पनि अदालतको गरिमा र मर्यादाको ख्याल पुर्‍याउन आग्रह गरेको छ । विज्ञप्तिमा भनिएको छ, “महासङ्घ नेपाल बार एशोसिएशनले उठाएका सवाल र नागरिक तहबाट उठेका प्रश्नलाई गम्भीररूपमा लिँदै उच्च नैतिकता प्रदर्शन गर्न र गतिरोध अन्त्य गरी अदालतको गरिमाको रक्षा गर्न न्यायालय नेतृत्वलाई हार्दिक आग्रह गर्दछ ।” महासङ्घले विकसित घटनाक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै नेपाली जनताको न्याय निरूपण गर्ने अन्तिम निकाय सर्वोच्च अदालतमा देखिएको घटनाप्रति चिन्ता र चासो प्रकट गरेको छ । नेपालको संविधानले परिकल्पना गरेको शक्तिपृथकीकरणको सिद्धान्तअनुरूप खडा भएको सर्वोच्च न्यायलय स्वच्छ, मर्यादित र विश्वासयोग्य हुनुपर्छ भन्ने महासङ्घको भनाइ छ । “सर्वोच्च अदालतको नेतृत्वप्रति गैरन्यायिक आचरणको प्रश्न उठाउँदै नेपाल बार एसोसिएसनले आन्दोलन गर्नुपर्ने अवस्था सृजना हुनु दुःखद् विषय हो, सर्वोच्च अदालतमा देखिएको गतिरोधले जनता न्याय प्राप्त गर्ने आफ्नो हकबाटसमेत वञ्चित हुनुपरिरहेको छ, “जसले गर्दा अदालतप्रतिको भरोसा कमजोर हुने खतरा उत्पन्न हुनसक्नेतर्फ महासङ्घ सम्बन्धित पक्षको ध्यानाकर्षण गराउन चाहन्छ”, विज्ञप्तिमा भनिएको छ ।
मानव अधिकार संरक्षणका लागि सहकार्य गरिने काठमाडौं ।राष्ट्रिय मानव अधिकार आयोगसहित सम्बन्धित आठ संवैधानिक आयोगले मानव अधिकारको संरक्षण र सम्बद्र्धनका लागि आपसी जीवन्त सम्पर्क, समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । मानव अधिकारको विश्वव्यापी मूल्य मान्यतालाई आत्मसात गर्दै मानव अधिकारका सवालमा सहअस्तित्व, समन्वय तथा सहकार्यसम्बन्धी कार्यशालामा राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेशी आयोग, थारु आयोग र मुस्लिम आयोगका अध्यक्ष तथा सदस्यले संयुक्त रुपमा सो प्रतिबद्धता व्यक्त गरेका हुन । “मानवअधिकारसम्बन्धी संवैधानिक आयोगको थप सुदृढीकरणका लागि राज्यका निकाय कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाले यी आयोगलाई आवश्यक सहयोग पु¥याउने छन् भन्ने अपेक्षा गरिएको छ”, आठ आयोगले आज जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “साथै जनअपेक्षा, जनभावना र अधिकारलाई सशक्तीकरण, सुदृढीकरण र सुनिश्चितता गर्न संवैधानिक आयोगबाट भगिरथ प्रयास गरिने प्रतिबद्धता व्यक्त गरिएको छ ।” संवैधानिक आयोगको कामकर्तव्य र अधिकार, आयोगबीच विषयगत अधिकारका सवालमा द्विपक्षीय तथा बहुपक्षीय सहकार्य, मानव अधिकार अनुगमनका सैद्धान्तिक, व्यवहारिक भोगाइ तथा सिकाइ, मानव अधिकारका विषयमा अध्ययन अनुसन्धान तथा नयाँ आयामका विषयको पहिचान, अन्तर्राष्ट्रियस्तरमा पेश हुने प्रतिवेदन, सिफारिस कार्यान्वयनको अवस्था, चुनौती र साझा रणनीति तथा साझा संयन्त्र निर्माण सम्बन्धमा आयोगबीच गहन छलफल भए पश्चात् सहकार्य र समन्वयलाई अझ प्रभावकारी बनाइने निष्कर्षमा पुगिएको छ । संविधान र कानूनले दिएको कार्यादेशबमोजिम आयोगबीच साझा विषय पहिचान गर्दै त्यस्ता विषयमा अध्ययन/अनुसन्धान, वकालत र अनुगमन गर्न साझा संयन्त्र तथा सहकार्य कार्यविधि तयार गर्ने, मानव अधिकारका सम्बन्धमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दायित्वका सवालमा साझा विषयमा सहकार्य गर्ने विज्ञप्तिमा जनाइएको छ । सबै आयोगका साझा समस्याको समाधानका लागि सामूहिक वकालत गर्ने, मानव अधिकारको संरक्षण र सम्वद्र्धनका लागि गरेका असल अभ्यासको आदानप्रदान गर्ने, मानव अधिकारका सवालमा सरकारको जवाफदेहिता बढाउन साझा कार्यक्रम तय गर्ने, मौलिक हक तथा नागरिकका आधारभूत अधिकारको सुनिश्चितताका लागि सँगसँगै कार्य गर्ने विषयमा गहन छलफल भएको जनाइएको छ ।
फोरजी सेवा विस्तारसँगै ह्वात्तै बढ्यो टेलिकमको मुनाफा काठमाडौं ।नेपाल टेलिकमले फोरजी आयोजनाको कार्यान्वयनसँगै यसको पहुँच विस्तार भएपछि गत आर्थिक वर्षको तुलनामा झण्डै ५० प्रतिशतले मुनाफा वृद्धि गरेको छ । गत आवको प्रथम त्रैमासिक अवधि (२०७७ असोज मसान्त) मा खुद मुनाफा रु एक अर्ब ५१ करोड ७७ लाख ६९ हजार रहेकामा चालु आवको सोही अवधि (२०७८ असोज मसान्त) मा रु ७४ करोड २१ लाख ३४ हजार (अर्थात् ४८.९० प्रतिशत) ले वृद्धि भई रु दुई अर्ब २५ करोड ९९ लाख चार हजार रहेको सो संस्थाले जनाएको छ । टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीका अनुसार संस्थाको आर्थिक स्वास्थ्य सकारात्मक हुनुमा फोरजी आयोजनाको कार्यान्वयनसँगै यसको पहुँच विस्तार हुँदा समग्र सक्रिय ग्राहक आधार वृद्धि भई मोबाइल डाटा, भ्वाइस, एसएमएस सेवा आदिको उपयोगमा उल्लेख्य वृद्धि हुन गएको हो । यसैगरी टुजी र थ्रिजी सेवाको पहुँच नपुगेका स्थानमा समेत फोरजीसम्मको सेवाको पहुँच विस्तार गरिएकाले ग्राहक आधार वृद्धि हुन गएको छ । कम्पनीको टिटिएच सेवा प्रतिग्राहकको आकर्षणमा वृद्धि भई एफटिटिएचमार्फत वितरण गरिएको इन्टरनेट सेवा, टेलिफोन सेवा तथा आइपिटिभी सेवाका ग्राहक वृद्धि हुन गई फिक्स नेटवर्कबाट हुने आयमा समेत सकारात्मक प्रभाव परेको अधिकारीले बताउनुभयो । अघिल्लो सरकारको कार्यकालमा देशभर फोरजी सेवा विस्तार भएको थियो ।
मूल्यवृद्धि फिर्ता लिन मञ्चको माग काठमाडौं ।पेट्रोलियम पदार्थ तथा अन्य दैनिक उपभोग्य वस्तुमा लगातार भइरहेको मूल्यवृद्धिप्रति उपभोक्ता हित संरक्षण मञ्च दमक, झापाले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । लामो समयसम्म कोरोना महामारीका कारण आर्थिक सङ्कट झेलेका सर्वसाधारणलाई मूल्यवृद्धिले झनै समस्यामा पारेको मञ्चले जनाएको छ । मञ्चका प्रदेश नं १ उपाध्यक्ष एवं दमक कार्यसमितिका अध्यक्ष डा नवीन चापागाइँ र नगरसचिव गोपाल झापालीद्वारा जारी विज्ञप्तिमा लगातार भइरहेको मूल्यवृद्धि नियन्त्रण गर्न सरकारसँग माग गरिएको छ । यस्तै तीन तहका सरकारलाई विभिन्न शीर्षकमा नागरिकले कर तिरिरहनुपरेको अवस्थामा करको दर समायोजन गरी नागरिकमैत्री बनाउन पनि आग्रह गरिएको छ । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिले यातायात, खाद्यवस्तु, दैनिक उपभोग्य एवं सबै प्रकारका वस्तुको मूल्य बढेको भन्दै यसमा गम्भीर भई मूल्यवृद्धि फिर्ता गराउन पनि सरकारसँग माग गरिएको छ । यस्तै हिउँदे बाली लगाउने बेला भएकाले किसानलाई सर्वसुलभरूपमा गुणस्तरी बीउ, मल तथा कृषि क्षेत्रमा आवश्यक वस्तु उपलब्ध गराउन पनि तीनै तहका सरकारसँग मञ्चले माग गरेको छ ।
सर्वोच्चमा अदालतमा सबै खाले मुद्दामा सुनुवाइ काठमाडौं।प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोकेका छन् । पेसी तोकिएका इजलासमा सबै खालका मुद्दाको सुनुवाइ भएको छ । प्रधानन्यायाधीश राणाले १० वटा इजलासमा पेसी तोकेका थिए । त्यसमध्ये आठवटा संयुक्त र दुईवटा एकल इजलास थिए । न्यायाधीशद्वय तेजबहादुर केसी र कुमार रेग्मी, न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र डा कुमार चुँडाल, न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र डा मनोजकुमार शर्माको संयुक्त इजलासमा सबै खाले मुद्दामा सुनुवाइ भएको हो । अरु इजलासमा भने बेन्च नबसेको, हेर्न नभ्याइने जनाएको हो । प्रधानन्यायाधीश राणाले सोमबार प्रेस विज्ञप्तिमार्फत आन्दोलनरत पक्षको माग सम्बोधनका लागि वार्तामा बोलाउँदै न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदनसहित अन्य प्रतिवेदन पनि कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। अदालतमा बेन्च बस्न नसक्दा मुद्दाको सुनुवाइ हुन सकेको छैन । बेन्च बस्न नसक्दा न्यायको पर्खाइमा बसेका सेवाग्राही मर्कामा परेका छन् । आज संवैधानिक आयोगले पनि प्रेस विज्ञप्ति जारी गरी न्याय पाउने नागरिकको अधिकारलाई ध्यान दिन आग्रह गरेका छन् ।
महिला मृत फेला तनहुँ ।तनहुँको व्यास नगरपालिका–२ स्थित बुल्दी खोला नजिक आज एक महिला मृतावस्थामा फेला परेकी छन् । व्यास नगरपालिका–१ भादगाउँ निवासी ३३ वर्षीय स्यानु गुरुङ दरै मृतावस्थामा फेला परेकी हुन् । बुल्दीखोला नजिक रहेको पर्खालमा झुण्डिएको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । “प्रहरी निरीक्षकको नेतृत्वमा घटनाको अनुसन्धान भइरहेको छ, हत्या हो कि आत्महत्या अहिल्यै भन्न सकिने अवस्था छैन”, उनले भने ।
मुद्दा सुनुवाइको विषयमा न्यायाधीशहरूको समूह नै विभाजित काठमाडौं। सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै एकै ठाउँमा उभिएका न्यायाधीशहरू विभाजित भएका छन् । न्यायालयमा देखिएको विवादका कारण २२ दिनदेखि न्याय सेवा ठप्प भएसँगै सोमबारबाट भने पाँच जना न्यायाधीशले ‘विद्रोह’ गरेका हुन् । आन्दोलनरत न्यायाधीशमध्ये पाँच जना नियमित इजलास फर्कने तयारीमा छन् । प्रधानन्यायाधीश राणाविरुद्ध आन्दोलन थप सशक्त बनाउन नेपाल बार, सर्वोच्च बार र न्यायाधीशहरूको छलफल बहिष्कार गरेका पाँच जना न्यायाधीश इजलास फर्कने मनस्थितिमा पुगेका हुन् । न्यायाधीशहरू तेजबहादुर केसी, बमकुमार श्रेष्ठ, कुमार रेग्मी, मनोज शर्मा र कुमार चुडाल नियमित मुद्दाको सुनुवाइका लागि इजलासमा फर्किने भएका हुन् । तपाईंहरू इजलास फर्कने तयारीमा हुनुहुन्छ हो भन्ने राजधानीको जिज्ञासामा पाँच जना न्यायाधीशमध्ये एक न्यायाधीशले सोमबार साँझ भने, ‘हामीले अहिले कुनै निचोड निकालिसकेका छैनौं, भोलि मंगलबार बसेर एउटा निर्णयमा पुग्छौं, लामो समय न्यायालय बन्द हुँदा सेवाग्राहीको अवस्था हेरेर पनि अब फर्कनुपर्छ कि भन्ने मनस्थिति चाहीँ बनाएका छौं, मुद्दा सुनुवाइको विषयमा हामी गम्भीर छांै ।’ न्यायालयमा परेका गम्भीर संवैधानिक बहसका मुद्दा अलपत्र पारेको र न्यायालयमा सन्तुलनमा कायम गर्न नसकेको भन्दै सर्वोच्चभित्र र बाहिरबाट प्रधानन्यायाधीश राणाको विरोध भइरहेको थियो । ७ कात्तिकमा न्यायाधीशहरू सामूहिक छलफलमा जुटेपछि दोस्रो दिनबाट सर्वोच्चको कुनै पनि इजलासमा सुनुवाइ हुन सकेन । ९ कात्तिकमा सर्वोच्चका १४ न्यायाधीशहरूले प्रधानन्यायाधीशलाई भेटेर राजीनामा दिन सुझाव दिएका थिए । प्रधानन्यायाधीश राणाले न्यायाधीशको आग्रहलाई अस्वीकार गर्दै राजीनामा नदिने बरु संवैधानिक प्रक्रियाबाट मात्रै आफू बिदा हुने बताए । त्यसपछि सुरु भएको न्यायालयमा इजलास बहिष्कार गरेका थिए भने नेपाल बारले आन्दोलनको घोषणा गरेर प्रधानन्यायाधीशको राजीनामा माग्यो । आन्दोलन निरन्तरताकै क्रममा सोमबार भने न्यायाधीशहरूबीच नै विद्रोह भएको हो । प्रधानन्यायाधीशको अपिल : न्यायाधीश कार्कीको प्रतिवेदन कार्यान्वयन गर्न तयार छु २१ दिनदेखि आन्दोलनरत नेपाल बार एसोसिएसनले सर्वोच्च गेटमा विरोध सभा गरिरहेकै बेला प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले वार्ताका लागि अपिल गरेका छन् । प्रधानन्यायाधीश राणाले अहिले देखिएको गतिरोधहरूको सम्बोधनका लागि संवादबाट समाधान हुने भन्दै नेपाल बार एसोसिएसन र सर्वोच्च बारसँग आग्रह गरे ।’ यस गम्भीर परिस्थितिलाई मध्यनजर गर्दै न्यायपालिकाको संस्थागत सुधार र सबलीकरणका लागि हामीबीच हालसालै भएको संवाद र अन्तत्र्रिmयाबाट प्राप्त सुझाव एवं माननीय न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदनसहित विभिन्न समयमा न्यायपालिका स्वयंले गठन गरेका आयोगका प्रतिवेदन कार्यान्वयन गर्ने सन्दर्भमा खुला हृदयका साथ अग्रसरता लिन म सधैं तयार गरेको कुरा यथार्थ पुनः अनुरोध गर्न चाहन्छु,’ राणाले विज्ञप्तिमा भनेका छन् । ‘संविधानसभाबाट जारी संविधानको सफल कार्यान्वयन गर्न राज्यका सबै अंगसहित राज्यका सम्पूर्ण निकाय एकताबद्ध हुनुपर्ने खाँचो रहेकै समयमा संविधानद्वारा स्थापना भएको सर्वोच्च न्यायिक अंग यसका प्रमुखमाथि एकपक्षीय ढंगले निरन्तर रूपमा अत्यन्तै तथ्यहीन, भ्रमपूर्ण र अनर्गल आरोप लगाउने काम भइरहनु अत्यन्त चिन्ताजनक विषय हो,’ प्रधानन्यायाधीश राणाले जारी गरेको विज्ञप्तिमा भनिएको छ । साथै प्रधानन्यायाधीश राणाले सर्वोच्च न्यायिक धरोहरका रूपमा रहेको सर्वोच्च अदालतलाई लामो समय अनिर्णयको बन्दी बनाउँदा उत्पन्न हुने परिणामले न्यायपालिकाको सबैलाई प्रताडित बनाएको विज्ञप्तिमा उल्लेख छ । प्रधानन्यायाधीशको अपिल आएसँगै नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले सोमबार धर्नामा बसेका कानुन व्यवसायीलाई सम्बोधन गर्दै प्रधानन्यायाधीशसँग संवाद गर्ने आधार नभएको भन्दै राजीनामा दिनुपर्ने बताए । ‘प्रधानन्यायाधीशको विश्वास गर्न सकिने अवस्था छैन, बरु आजै राजीनामा दिएर निकास दिनुस्,’ श्रेष्ठले भने । प्रधानन्यायाधीशको अपिल लगतै नेपाल बारले सर्वोच्च अदालतका १९ न्यायाधीशहरूलाई सम्बोधन गर्दै इजलासमा नबस्न पत्र लेख्यो । बारले प्रधानन्यायाधीश राणाले न्यायालयको गरिमा धुलिसात पारेकाले उनीसँग इजलासमा नबस्न भनिएको छ । बारका महासचिव लिलामणि पौडेलले लेखेको पत्रमा ‘समग्र न्यायापालिकाको गरिमा, जनआस्था धुलिसात पारेको र सबैको विश्वास गुमाएकाले राणाले तोकेको बेन्चमा बसी सुनुवाइ नगर्नु हुन निर्णयानुसार हार्दिक अनुरोध गर्छाैं’ भनिएको छ । साथै सोमबार नेपाल बार र सर्वोच्च बारका प्रतिनिधिहरूले इजलास बहिष्कार गरेका न्यायाधीशलाई भेटेका थिए । बारका प्रतिनिधिले न्यायाधीशसँगको सामूहिक भेटमा प्रधानन्यायाधीशसँग कुनै पनि सम्झौता नगर्न भनेका छन् । बारका प्रतिनिधिहरूले आफूहरूको आन्दोलनको मुख्य एजेन्डा नै प्रधानन्यायाधीशको राजीनामा भएको बताएका छन् । सर्वोच्चका न्यायाधीशहरूले अहिलेको आन्दोलनको मध्यबिन्दुको विषयमा छलफल हुँदा कानुन व्यवसायी प्रधानन्यायाधीशको राजीनालाई पहिलो सर्तका रूपमा राखेको बारका एक प्रतिनिधिले जानकारी दिए । सोमबार बारसँगको छलफलमा पाँच जना न्यायाधीशहरू भने सहभागी भएनन् । १३ जना न्यायाधीशहरू मात्रै बारका प्रतिनिधिसँग छलफलमा जुटेका थिए । राजधानी दैनिकबाट
किन अझै चीन कोरोनाभाइरसलाई निमिट्यान्न पार्ने कोसिसमा छ? बेइजिङ (बीबीसी)। विश्वभरि नै मानिसहरू कोभिडका कारण लगाइएको लकडाउनपश्चात्‌को जीवनसँग अभ्यस्त हुँदै छन्। महामारी सुरु भएको चीन भने अझै कोरोनाभाइरस निर्मूल पार्ने नीतिमा निरन्तर लागिपरेको छ। चीनमा ठाउँ सोध्न पाँचतारे होटलमा प्रवेश गरेका एक जना मानिस होटलका एक सङ्क्रमित अतिथिको सम्पर्कमा आएका कारण दुई सातासम्म क्वारन्टीनमा बस्न बाध्य भए। तीव्र गतिको एउटा रेलमा चालक दलका एक जना सदस्य सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएपछि यात्रुहरूको ठूलो समूहलाई नै क्वारन्टीनमा राखियो र परीक्षण गरियो। साङ्घाइस्थित डिज्नील्याण्डमा अघिल्लो दिन पुगेका एक जना मानिसलाई सङ्क्रमण देखिएपछि त्यहाँ भोलिपल्ट आएका ३३,८६३ जनालाई सामूहिक परीक्षण गराइयो। महामारीसँग जुध्नका लागि सबैभन्दा पहिला प्रतिबन्धहरू लागू गर्ने चीन हो भने सबैभन्दा ढिला प्रतिबन्ध खुकुलो गर्ने देशहरूमा पनि चीन नै पर्छ। चीनका सडकतिर भेटिएका सर्वसाधारण आफू सुरक्षित रहँदासम्म भाइरसविरुद्ध लगाइएका निरन्तरका उपायहरूबारे आपत्ति व्यक्त गर्दैनन्। चीन चाँडै खुल्नुपर्छ कि पर्दैन भनेर एक जना महिलासँग सोध्दा उनले सुरक्षा सबैभन्दा पहिला आउने भएकोले महामारी नटर्दासम्म कुर्नु उचित हुने बताइन्। कामबाट घर फर्किँदै गरेकी अर्की महिलाले भाइरस पूर्ण रूपमा बुझ्न नसकिएकाले खोलिहाल्नुभन्दा यसलाई रोकिरहनु नै ठिक हुने बताइन्। अन्य देश जस्तै अस्ट्रेलिया, न्यूजील्याण्ड र सिङ्गापुरले पनि कोरोनाभाइरसको प्रत्येक प्रकोपको बेला समुदायबाट पूर्ण रूपमा कोरोनाभाइरसको सङ्क्रमण नहट्दासम्म सहरहरूमा लकडाउन लगाए। उनीहरूको उद्देश्य पनि स्थानीय रूपमा सर्ने क्रम शून्यमा झरोस् भन्ने नै थियो। तर यो नीतिलाई परिवर्तन गराउने दुई वटा कुरामध्ये एउटा भनेको डेल्टा भेरिअन्ट नियन्त्रणका लागि कडा नियमहरू लगाउनु र अर्को भनेको खोप धेरै मात्रामा उपलब्ध गराउनु थियो। खोप दर धेरै हुनुको अर्थ मानिसहरूलाई कोभिड-१९ भए पनि अस्पताल जानुपर्दैन भन्ने हो। परिणामस्वरूप अन्तर्राष्ट्रिय यात्राका लागि अन्यत्र सीमाहरू खुलिरहेका छन्। यद्यपि चीनमा भने विदेशीलाई भिसा पाउन गाह्रो छ र चिनियाँहरूको पनि राहदानीको म्याद सकिएपछि म्याद थप गर्न पाएका छैनन्। अन्यत्र मानिसहरू “भाइरससँगै बाँचिरहेका छन्”, चीनमा चाहिँ होइन। त्यहाँ डेल्टाको नयाँ प्रकोप देखिँदा खोप आउनु पूर्वको अवस्था जस्तै गरी नियन्त्रण गर्न खोजिँदै छ। यदि चीनको आधिकारिक तथ्याङ्कहरू तथ्यपरक भए अक्टोबरयता १,००० भन्दा बढी स्थानीयमा सङ्क्रमण देखा परेको छ। यो आकार त्यति ठूलो होइन तर सङ्क्रमण फैलिएको चाहिँ उल्लेख्य हो। २१ प्रान्तहरूमा सङ्क्रमण फैलिएको छ। यसले अर्थ राख्छ किनभने चीनमा केही मानिसमा मात्रै सङ्क्रमण देखिए पनि सयौँ वा हजारौँलाई सङ्क्रमण देखिए जस्तै गरी कडा खालको प्रतिबन्धात्मक उपायहरू अपनाइन्छ। ‘एउटा पनि सङ्क्रमण स्वीकार्य हुँदैन’ चीनका केही वैज्ञानिकहरूले पुनर्विचारका लागि आह्वान गरे पनि अधिकारीहरूले कडा उपायहरूमा परिवर्तन गर्ने कुनै सङ्केतहरू देखाएका छैनन्। सरकारका सल्लाहकार समेत रहेका हङकङ विश्वविद्यालयका भाइरोलोजिस्ट प्राध्यापक क्वान यीले सङ्क्रमण पत्ता लगाउने परीक्षणबाट खोपको प्रभावकारिता बुझ्न वैज्ञानिकहरूलाई मद्दत गर्ने एन्टिबडी परीक्षणमा जान आह्वान गरेका छन्। फिनिक्स टेलिभिजनसँगको अन्तर्वार्तामा उनले पूर्ण रूपमा उन्मुलन गर्ने शून्य-कोभिड रणनीतिले काम गर्ने सम्भावना दीर्घकालमा नहुने बताए। “भाइरस अब स्थायी हो,” उनले भने। “यो सरुवा ज्वरोजस्तो हो जुन लामो समयसम्म मानिसमा घुमिरहन्छ।” यो अवधारणा अन्य देशका मानिसका लागि अचम्मलाग्दो हुनेछ। तर चीन सरकारले भने भाइरसको सङ्क्रमणमा वृद्धि भएसँगै सङ्क्रमित सङ्ख्या शून्यमा झार्न मानिसहरूलाई आवतजावत गर्न रोक लगाउँछ। कोरोनाभाइरसको उत्परिवर्तनविरुद्ध चिनियाँ खोपले कति काम गर्छ भनेर सोध्दा प्राध्यापक क्वानले यसको जवाफ खोप उत्पादकले दिनुपर्ने बताए। बेइजिङको निर्देशनमाथि प्रश्न उठाउने उनी एक्ला प्राज्ञ होइनन्। न्यूयोर्कमा रहेको काउन्सिल अन फरेन रिलेसन्सका डा. हाउङ यान्झोङले खोपले चीन सरकारले चाहेको उपलब्धि हासिल नगर्नु नै मुख्य समस्या भएको बताए। “उनीहरू खोपले सङ्क्रमणबाट जोगाउँछ भन्नेमा ढुक्क छैनन्,” उनले बीबीसीसँग भने, “एकदमै उत्कृष्ट खोपले पनि सङ्क्रमणबाट जोगाउन सक्दैन। तर शून्य-सहनशीलताको रणनीतिले एउटा मात्रै सङ्क्रमणको घटना स्वीकार्न सक्दैन।” डा. हाउङले चीन सरकार यस कुरालाई लिएर राजनीतिक र सैद्धान्तिक रूपमा बाँधिएको बताए। “महामारीमा चीनले अपनाएको नीति सफल हो भन्ने दाबीका लागि शून्य-सहनशीलताको रणनीति चीनको आधिकारिक कथन हो। त्यसैले यदि त्यो रणनीति त्यागियो भने सङ्क्रमण उल्लेख्य रूपमा बढेको देखिन्छ र त्यसपछि मानिसहरूलाई नीतिमाथि नै प्रश्न गर्ने बनाउँछ।” ‘लाखौँ कारण’ बेइजिङमा केही ठूला कार्यक्रमहरू हुँदै छन् र अधिकारीहरू ती कार्यक्रमहरूमा कोभिड प्रकोपको कुनै घटना नभएको हेर्न चाहन्छन्। छिट्टै हुन लागेको कार्यक्रम भनेको हिउँद ओलिम्पिक्स हो। टिकटहरू बिक्रीमा गएका छैनन् तर दर्शकहरू उपस्थित गराउने लक्ष्य राखिएको छ। अर्को अक्टोबरमा कम्युनिस्ट पार्टीको पाँच वर्षमा हुने महाधिवेशन हुँदै छ जति बेला सी जिनपिङले आफ्नो ऐतिहासिक तेस्रो कार्यकाल सुरु गर्ने ठानिएको छ। अर्को व्याख्या भनेको चाहिँ जिनपिङ र उनको प्रशासन चीनमा वैदेशिक प्रभाव घटाउन रुचाउँछन् भन्ने पनि हो। र त्यो दिशामा जानका लागि महामारीले एउटा उत्तम बहाना दिएको छ। अन्य देशले सीमा खोलिरहेका बेला चीनले कहिले त्यसो गर्छ भनेर विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनलाई बीबीसीले सोधेको थियो। प्रतिक्रियामा उनले अन्य देशको अनुभव चीनले हेरिरहेको र नयाँ भेरिअन्टहरू देखा परिरहेका बेला विज्ञानलाई हेरेर निर्णय लिइने बताए। ‘एकदमै उच्च’ मूल्य डा. झोङ नानशानलाई चीनमा चिकित्सा क्षेत्रका नायकका रूपमा जस्तै गरी हेरिन्छ। श्वासप्रश्वाससम्बन्धी विशेषज्ञ उनी सन् २००३ मा विश्वव्यापी रूपमै चर्चामा आएका थिए। उनले त्यति बेला सार्स प्रकोप त्यति गम्भीर होइन भन्ने सरकारको धारणालाई चुनौती दिएका थिए। आजकाल अधिकारीहरूसहित सर्वसाधारणहरू उनको धारणा के छ भनेर सुन्न खोज्छन्। हालैको एउटा अन्तर्वार्तामा उनले चीनको कोभिड नियन्त्रणका लागि अपनाइएको कडा उपायहरू “लामो समयसम्म रहने” बताएका थिए। उनले कोभिडका कारण मृत्यु हुने विश्वव्यापी दर दुई प्रतिशत चीनका लागि निकै धेरै भएको बताए। चीनका अधिकारीहरू यस्तो मामिलामा अलि पुरातनवादी हुन्छन् भन्ने कुरा पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। उनीहरूले देश “पुनः खोल्ने” योजना गर्ने तर त्यसका लागि हतार नगर्ने सम्भावना छ। चीन प्रवेश गर्न वा छोड्न चाहनेहरूसँग ‘पर्ख र हेर’को विकल्प छैन। मध्यम र उच्च वर्गका मानिसहरू अन्तर्राष्ट्रिय रूपमा यताउता गर्न नपाएको विषयलाई लिएर दुखमनाउ गरिरहेका हुन सक्छन् तर सर्वसाधारण नागरिकहरू भने आफू स्वस्थ रहने भए सरकारले अवस्था नियन्त्रण गरोस् भन्ने नै चाहन्छन्। यसैबीच परीक्षण, केन्द्रीकृत क्वारन्टीन, यातायातमा नियन्त्रण, उच्च तहको निगरानी र स्थानीय स्तरमा लकडाउन लगायतका कुराहरू चीनमा रहिरहनेछ।
विश्वकप जितेपछि लगाएको जुत्ता खोलेर त्यसैमा रक्सी हालेर पिए, किन गरिन्छ यस्तो ? काठमाडौं। अस्ट्रेलियाले टि–२० विश्वकपको उपाधि जितेको छ । फाइनलमा न्यूजिल्याण्डलाई ८ विकेटले पराजित गर्दै अस्ट्रेलियाले पहिलो पटक टि–२० विश्वकपको उपाधि जितेको हो । सात बल बाँकी छँदै लक्ष्य हासिल गरेपछि अस्ट्रेलियाले क्रिकेटका सबै फरम्याटमा उपाधि जितेको छ । अस्ट्रेलियन खेलाडीले पहिलो पटक टि–२० विश्वकप जितेको खुसी व्यक्त गर्ने अनौठा तरिका अपनाइरहेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषदले खेलाडीहरुले खुसी मनाइरहेको भिडियो ट्वीट गरेको छ । भिडियोमा अस्ट्रेलियन खेलाडीले आफूले लगाइरहेको जुत्ता खोल्छन् त्यसपछि त्यसमा बियर हालेर पिउँछन् । भिडियोमा मार्कुस स्टोइनिस, म्याथ्यु वेड लगायत खेलाडी देखिएका छन् । How's your Monday going? 😅#T20WorldCup pic.twitter.com/Fdaf0rxUiV — ICC (@ICC) November 15, 2021 जुत्तामा बियर हालेर पिउने अस्ट्रेलियाको पुरानो परम्परा हो । यो परम्परालाई शुइ भनिन्छ । यो प्रथामा धेरैजसो जुत्तामा बियर हालेर पिउँछन् । केहीले भने जुत्तामा ह्वीस्की वा अन्य मदिरा पनि हालेर पिउँछन् । २०१६ मा मोटरसाइकल रेसर ज्याक मिलनले पनि आफ्नो जितको खुसी यसैगरी व्यक्त गरेका थिए ।
मिनी ट्रक दुर्घटनामा एकको मृत्यु, दुई घाइते सिन्धुपाल्चोक। जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–१ फुस्रे्रेमा आज बिहान ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । मृत्यु हुनेमा जुगल गाउँपालिका–२ गोल्चे निवासी ३४ वर्षीय सीताराम दोङ रहेका छन् । गम्भीर घाइते एकजनालाई वीर अस्पतालको ट्रमा सेन्टरमा पठाइएको छ । सामान्य घाइते एकको चौतारा अस्पतालमा उपचारपछि घर फर्केको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । आलु लोड गरिएको बा५ख ६५६३ नंको आइचर ट्रक पाँचपोखरी थाङपालतर्फ जाँदै गर्दा सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । कच्ची सडकमा साँघुरो र उकालोसमेत भएका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।
पौडी खेल्ने क्रममा डुबेर विद्यार्थीको मृत्यु काठमाडौं ।पोखरामा आज पौडी खेल्ने क्रममा डुबेर एक विद्यार्थीको मृत्यु भएको छ । भारत राजस्थान घर भई हाल गण्डकी मेडिकल कलेज पोखरामा एमबिबिएस प्रथम वर्षमा अध्यनरत २२ वर्षीय विश्वास पुनी पोखरा महानगरपालिका–१७ पावरहाउस नजिक फुस्रे खोलामा पौडी खेल्ने क्रममा बिहान अन्दाजी ११ः३० बजे डुबेर बेपत्ता भएका थिए । खोलामा बेपत्ता हुनुभएका पुनीलाई घटनास्थलदेखि १० मिटर तल फेला पारी प्रहरीले उद्धार गरी उपचारका लागि गण्डकी मेडिकल कलेजमा लगिएकामा उपचारका क्रममा मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायब उपरीक्षक श्रवणुकमार विकले जानकारी दिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कस्तुरीको छालासहित तिमल्सिना पक्राउ काठमाडौँ ।कस्तुरीको अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा कस्तुरीको छालासहित २८ वर्षीय दिपेश तिमल्सिना पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका १४ बल्खुबाट संरक्षित वन्यजन्तु कस्तुरीको १ थान छाला र ४ थान छालाका टुक्रा सहित ललितपुर महांकाल गाउँपालिका ५ चन्दपुर घर भएका तिमल्सिना पक्राउ परेका हुन् । प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उक्त आखेटोपहार अवैध रुपमा ओसार पसार तथा बेचबिखन गर्न ल्याएको अवस्थामा फेला पारी उनलाई शुक्रबार पक्राउ गरेको हो ।
सेनाको ट्रक सडकबाट खस्यो, चालकले हाम्फालेर ज्यान जोगाए काठमाडौँ ।गोरखाको भच्चेकमा नेपाली सेनाको रिपुमर्दन गणको ट्रक सिरानचोक गाउँपालिका ५ स्थित भालुमारा सडकमा दुर्घटना भएको छ । तालिमको बन्दोबस्तीका समान पुर्‍याएर फर्कने क्रममा भच्चेकबाट फर्कंदै गरेको ट्रकको ब्रेक फेल भएपछि ३० मिटर तल खसेको हो । चालकले हाम्फालेर ज्यान जोगाएका छन् । तालिमको बन्दोबस्तीका समान पुर्‍याएर फर्कने क्रममा भच्चेकबाट फर्कंदै गरेको ट्रक आइतबार बिहान १०ः२० बजे लु १ ग १३९ नम्बरको ट्रक ब्रेक फेल भएर सडकबाट खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख (सइ) प्रेमप्रसाद पोखरेलले बताए ।
रोल्पामा जीप दुर्घटना हुँदा चारको मृत्यु काठमाडौँ ।रोल्पामा जीप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । जिल्लाको माडी गाउँपालिका हान्डिङदेखि घर्तिगाउँ आउँदै गरेको रा१ज ३८२ नंको जीप आज घर्तिगाउँको बजार नजिकै दुर्घटना भएको हो । दुर्घटनामा परी मृत्यु हुनेमा जीपचालक ५१ वर्षीय लुद्रबहादुर घर्ती, ५३ वर्षीय टेकबहादुर पुन, ४७ वर्षीय चौसरा विक र १८ वर्षीया लीला पुन रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । लीलाको उपचारका क्रममा रोल्पा अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको हो भने अन्य तीनजनाको घटनास्थलमै मत्यु भएको हो । मृतक सबै माडी गाउँपालिका–६ का रहेको प्रहरी नायब उपरीक्षक सुवेदीले बताए । त्यसैगरी घाइते हुनेमा माडी गाउँपालिका–६ का बीना घर्तिमगर र सोही वडाका पञ्चना विक रहेका छन् । घाइतेलाई रोल्पा अस्पताल रेउघामा उपचार भइरहेको प्रहरीले बताएको छ । जीप माडी गाउँपालिका–६ हान्डिङदेखि घर्तिगाउँ आउने क्रममा घर्तिगाउँ बजार नजिकै शहीद मार्गमा दुर्घटना भएको प्रहरीले बताएको छ ।