content
stringlengths 31
27.4k
⌀ |
---|
रौतहटमा जिप दुर्घटना: पाँच जनाको मृत्यु, दुई जना घाइते (अपडेट) रौतहट । रौतहटमा जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । गौरबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको भारतीय बीआर ०५पीए ६९५३ नम्बरको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुनील मल्लले जानकारी दिए ।
‘मंगलबार ४ः१० बजे जन्ती बोकेको जिप अनियन्त्रित भएर दुर्घटना भयो,’ प्रवक्ता मल्लले भने, ‘पाँच जनाको मृत्यु भएको छ ।’
उक्त जिपमा सात जना सवार रहेका थिए । बाँकी दुई जना घाइते रहेका उनले बताए । ‘दुई जना घाइतेमध्ये एक जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । अर्का घाइतेलाई उपचारका लागि वीरगञ्ज पठाइएको छ,’ प्रवक्ता मल्लले बताए ।
उनका अनुसार गरुडा नगरपालिकाको जयनगरमा अनियन्त्रित हुँदा जिप दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ । मृतक र घाइतेको परिचय खुलिनसकेको उनले बताए । |
रकम फिर्ता गर्न कामपालाई आग्रह काठमाडौँ। हनुमानढोका दरबार हेरचाह अड्डाले सम्झौता भएअनुरुपको बाँकी रकम तत्काल फिर्ता गर्न काठमाडौँ महानगरपालिकालाई आग्रह गरेको छ । अहिले अड्डाले विदेशीको लागि रु ३०० को टिकटको व्यवस्था गरेको छ । यसअघिसम्म कामपाले विदेशीको लागि रु एक हजार र दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) राष्ट्रका नागरिकको लागि रु ७५० लिने गरेको थियो ।
यसबाट उठेको रकमको २५ प्रतिशत अड्डालाई दिने गरी विस २०६८ मा ती दुई निकायका बीचमा सम्झौता भएको जनाइएको छ ।सम्झौताअनुसार पहिलो चरणमा कोरोना भाइरस सुरु हुनुभन्दा पहिलेकै रु तीन करोड ५० लाख र त्यसपछिको रु ५० लाख गरी रु चार करोड दिनुपर्ने अडडको भनाइ छ । उक्त रकम तत्काल दिन कामपालई आग्रह गरिएको छ । यसरी हनुमानढोका प्रवेशमा कामपाले र अड्डाले फरक फरक प्रवेश शुल्क लिँदा विदेशी नागरिक दोहोरो मारमा पर्दै आएका छन् ।
खर्च व्यवस्थापन गर्न समस्या भएको भन्दै अड्डाले कामपालाई पटकपटक जानकारी गराउँदै यसअघि बाँकी रहेको रकम दिन आग्रह गर्दासमेत उपलब्ध नभए पनि आफूहरुले विदेशीको लागि छुट्टै टिकटको व्यवस्था गरेको हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले जानकारी दिए। महामारी सुरु हुनुपूर्वको रु तीन करोड ५० लाख त्यसपछिको केही रकम गरी हाल करिब रु चार करोड दिन बाँकी रहे पनि प्राप्त गर्न नसकेकाले हनुमानढोका विकास समिति सञ्चालन बोर्डको निर्णयअनुसार उक्त स्थानमा विदेशी प्रवेश गर्नका लागि रु ३०० को छुट्टै व्यवस्था गरेको हो ।
उनले कामपालाई यसअघि दिनुपर्ने रकम दिन र आगामी दिनमा पनि त्यसलाई निरन्तर गर्न आग्रह गर्दै आएको बताए। मागअनुरुप कामपाले बक्यौता रकम र आगामी दिनमा पनि सम्झौता भएअनुसारको रकम प्रदान गरेको अवस्थामा विदेशी पाहुनाको लागि आफूहरुले लिने गरेको रु ३०० को टिकट रद्द गर्ने प्रमुख खनालले स्पष्ट पारे । |
हत्या आरोपमा बैतडीका एक युवक पक्राउ काठमाडौं। इलाका प्रहरी कार्यालय पाटनले हत्याका आरोपमा सिगास गाउँपालिका–७ का ३० वर्षीय रमेशसिंह ऐरलाई प्रक्राउ गरेको छ । सिगास–८ का ५५ वर्षीय कटक बोहराका हत्यामा संलग्न रहेको आरोपमा ऐरलाई पक्राउ गरिएको कार्यालयका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । ऐरलाई प्रहरीले घर नजिकैबाट सोमबार पक्राउ गरेको जनाएको छ ।
गत मङ्सिर १३ गते राति कालपोखरी मन्दिरको जात्रामा गएका कटक बोहरा मङ्सिर १६ मा मृतावस्थामा फेला परेका थिए । टाउको र शरीरमा घाउचोट देखिएकाले बोहराको हत्या गरिएको जनाउँदै आफन्तजनले निवेदन दिएपछि प्रहरीले अनुसन्धान गरेको थियो । पक्राउ परेका ऐर घटना भएको भोलिपल्टदेखि फरार रहेकोले उनीमाथि प्रहरीले निगरानी बढाएको जनाइएको छ ।
प्रहरी निरीक्षक शाहीले भने, “कालपोखरी मेलामा ऐर र बोहराको भेट भएको र भेट हुँदा बोहराले ऐरलाई दिएको ऋण माग्दा सोही विषयलाई लिएर रातिका समयमा उनीहरुबीच वादविवाद र झगडा भएको कुरा बुझिन आएको छ ।” प्रहरीले हिरासतमा रहेका ऐरमाथि कर्तव्य ज्यान मुद्दा दर्ता भएर थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ । |
रामेछाप प्रहरीद्वारा २८ वर्षपछि फरार प्रतिवादी पक्राउ काठमाडौं। जिल्ला प्रहरी कार्यालय रामेछापले २८ वर्षपछि कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा साविक गौश्वारा गाविस–७ र हाल दोरम्बा शैलुङ गाउँपालिका–४ का ५८ वर्षीय होमबहादुर थापामगर रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायब उपरीक्षक नवराज ढुङ्गानाले बताए ।
निज प्रतिवादीसमेत चार जनाले २०४९ कात्तिक ५ गते छिमेकी गजुरे मगरलाई पुरानो विवादका कारण चक्कुले मुटु छेड्ने गरी प्रहार गरी हत्या गरेर फरार रहेका थिए । होमबहादुरबाहेक अन्य तीन अभियुक्तमध्ये चन्द्रबहादुर मगर र गङ्गाबहादुर मगरले कैद सजाय भुक्तान गरिसकेका छन् भने टकबहादुर मगरको मृत्यु भइसकेको छ ।
ढुङ्गानाका अनुसार कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत रामेछापको विसं २०५० फागुन १६ गतेको फैसलाअनुसार २० वर्ष कैद सजाय तोकिएका थापामगर हालसम्म फरार रहेका थिए । प्रहरीले विशेष सूचनाका आधारमा मगरलाई आफ्नै घरभित्र डोकोमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो ।
निजकी श्रीमतीले घरमै भएका श्रीमान् होमबहादुरका बारेमा विभिन्न झुक्यानमा पारी भगाउन खोज्दै गर्दा प्रहरीले खोजतलासको क्रममा घरको मााथिल्लो तलामा डोकोभित्र लुकेर बसेको अवस्थामा फेला परेको हो । निज अभियुक्तलाई आजै जिल्ला अदालत पेश गरिने प्रहरीले जानकारी दिएको छ । |
अज्ञात समूहद्वारा पाँच पसलमा आगजनी, लाखौँको क्षति महोत्तरी। अज्ञात समूहले एकैसाथ पाँचवटा पसलमा आगजनी गरी लाखौँको क्षति पुर्याएको छ । महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–३ भटौलिया बजारमा गए राति आगजनी गरी लाखौँको क्षति पुर्याएको हो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार भटौलिया बजारमा स्थानीय रामएकवालको चिया पसल, राजकुमारी साहको खाजा पसल, योगेन्द्र साहको चिया पसल, शम्भु साहको खाजा पसल र मङ्गल साहको चिया पसलमा अज्ञात समूहले गए राति करिब ९ बजेको समयमा आगजनी गरेका छन् ।
आगजनीबाट पाँचवटै पसलभित्र रहेका विभिन्न खाद्यान्न, कुर्सी, बेञ्च, टेबुल, फ्रिज, भाँडाकुँडा, ग्यास सिलिण्डर, चुल्हा र घरसमेत जलेर पाँच लाख रुपैयाँ बढीको क्षति भएको पसलेहरूले बताएका छन् । पसलमा रातिको बेला कोही नभएको अवस्थामा आगजनी गरिएको थियो । आगो नियन्त्रणमा लिन नसक्दा सबैथोक जलेर नष्ट भई लाखौँको क्षति भएको प्रहरीले जनाएको छ । |
अमेरिकाबाट गुनासो लिएर आए हरि अमेरिका। नेपालीभाषी भुटानी श्रष्टा हरि उप्रेती गुनासो नामक गजल संग्रह लिएर पाठकमाझ आएका छन्। उनको गजलको सो पुस्तक २६ डिसेम्बरमा एक समारोह बीच ओहायो राज्यको रेनोल्ड्स्बर्ग शहरमा बिमोचन गरियो।
नेपालीभाषी भुटानी समुदायका स्थानीय समाजसेवी आर.के उप्रेतीको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा भुटानी नेपाली कवि, लेखक, गीतकार साहित्यकार पूर्ण नरजाली जलन, गंगाराम लामिटारे, धर्मेन्द्र तिम्सिना क्षितिज, गीतकार आर.बी खड्का, शेखर कोइराला, बि बि पौडेल, आभीनास थापा, सुसन माझी, विनोद उप्रेती, भमि ढकाल, आभास, श्याम गौतम, कमल सुवेदी लगायत उपस्थित थिए।
त्यसैगरी गायक अर्जुन रसाईली, गायिका सुचिता गुरूंगलगायतको उपस्थिति थियो। मातृभाषा संरक्षण समूह र कोलम्बस साहित्यिक मन्चको आयोजनामा सम्पन्न कार्यक्रममा विभिन्न सर्जकहरूले रचना वाचनका साथै कृतिकारको साहित्यिक योगदानको चर्चा गरिएको थियो। युनिभर्सल बुक, काठमाडौले प्रकाशन गरेको यो गजल संग्रहमा ९० गजल संग्रहित छन्।
उप्रेतीको यो तेस्रो कृति हो। यस अघि करुणा गीती एल्वम र कविता, मुत्तक र गजल संग्रहित अडियो बुक मनका तरेली ल्याएका थिए। गीतकार/गजलकार उप्रेतीले मुर्चुङगा, धनवान, डोली, आकाशे खेती, नालापानी, आधी तुफान २, वीर बहादुर दंग पर्छ, टिनएज, डन २ लगायत २ दर्जन नेपाली चलचित्रमा गीत लेखेका छन्। |
नेपाली समाज टेक्सासको अध्यक्षमा राजेन्द्र वाग्ले विजयी टेक्सास, अमेरिका । नेपाली समाज टेक्सास(एनएसटी) को अध्यक्षमा राजेन्द्र वाग्ले निर्वाचित भएका छन्। आफ्ना प्रतिप्पर्धी उम्मेद्वार कमल सापकोटालाई पराजित गर्दै वाग्ले निर्वाचित भएका हुन्।
आइतबार अवेरसम्म मतदानको परिणाम सोमबार अपरान्ह आएको थियो। लगभग ४ हजार मतदाता रहेको नेपालीहरुको साझा संस्था एनएसटीमा वाग्ले र सापकोटा आ-आफ्ना प्यानल नै बनाएर चुनावी प्रतिष्पर्धामा उत्रेका थिए।
निर्वाचनमा वाग्लेको लगभग पूरै प्यानल नै विजयी भएको छ। वाग्ले बरिष्ठ उपाध्यक्ष पदमा सोही संस्थामा कार्यरत थिए । उनले ११२० मत ल्याएका छन् भने उनका प्रतिष्पर्धी सापकोटाले ८६२ मत प्राप्त गरेका छन्।
संस्थाको बरिष्ठ उपाध्यक्षमा विवेक कँडेल र महासचिवमा सन्देश उप्रेती जित हात पारेका छन्। त्यसैगरी उपाध्यक्षमा जनक भण्डारी,सचिवमा हरिप्रसाद खनाल,कोषाध्यक्षमा दिनेश न्यौपाने, सहकोषाध्यक्षमा गोविन्द गौतम, महिला संयोजकमा गुन्जन भण्डारी र युवा तथा विद्यार्थी संयोजकमा जेनिन पुरी निर्वाचित भएका छन्।
कार्यसमिति सदस्यहरुमा महेन्द्र पुन,विजयराज भुसाल, पुण्य पाण्डे, रोविन पाठक, सरोज सिग्देल, विक्रम पौडेल र शान्ताकुमारी गिरी विजयी भएका छन्। |
कैदी फरार प्रकरणः जेलरसहित सात जना पक्राउ दाङ । कारागारका नाइके यामराज परियार फरार प्रकरणमा दाङको घोराही कारागारका जेलरसहित सात जना पक्राउ परेका छन् । सोमबार सम्ममा दाङ प्रहरीले कैदी भगाउने कार्यमा संलग्न भएको आरोपमा कारागार प्रमुखसहित सात जना पक्राउ परेको जनाएको छ ।
सोमबार घोराही कारागारका प्रमुख युवराज परियार, कारागारका असई रुद्रबहादुर सेन, प्रहरी हवल्दार गणेशकुमार थारुलाई पक्राउ गरिएको हो । त्यस अघि प्रहरी जवान धनबहादुर चौधरी, घोराही उपमहानगरपालिका वडा नं १६ रतनपुरकी विपाशा चौधरी, तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ की समी चौधरी र घोराही होटल प्याराडाइजका सौजन्य खनाल पक्राउ परेका थिए ।
खनाल यसअघि पनि कारागारको कारबाही भुक्तानी गरेर निस्किएको व्यक्ति भएको र उनले नै होटलमा युवती लगायत अन्य कुराको व्यवस्थापनको भूमिका खेलेको प्रहरी दाबी छ । पक्राउ परेकामध्येको नाम नखुलाइएका हवल्दार खासै दोषी नदेखिएको पनि स्रोतले दाबी छ ।
घटना अनुसन्धान अधिकृत अमर बहादुर वलीले दाङ जिल्ला अदालतबाट सोमबार बेलुकी पक्राउ पुर्जी जारी हुनासाथ उनीहरूलाई पक्राउ गरिएको बताए । तर घोराही कारागारका जेलर युवराज परियार भने दुई दिन अगाडि नै पक्राउ परी सकेको भए पनि अदालतबाट कानुनी प्रक्रिया पूरा गरेपछि मात्रै उनीहरूको पक्राउबारे जानकारी दिइएको प्रहरी स्रोतको भनाइ छ ।
घोराही कारागारका जेलर पक्राउ परेलगत्तै उनको जिम्मेवारी खोसेर तुलसीपुर कारागारका जेलेर वलीलाई तत्कालका लागि जिम्मेवारी तोकिएको थियो । कारागार शाखाको अनुसन्धान पनि जेलरकै नेतृत्वमा हुने हुँदा अनुसन्धान सकेरमात्रै उनीहरू पक्राउ परेकोबारे जानकारी दिइएको छ ।
यसअघि कारागारका नाइके बिहीबार भागेपछि आइतबार घोराहीका जेलर युवराज जिल्ला प्रशासन कार्यालय तानिएको सार्वजनिक गरिएको थियो ।
जेलर परियार आफू बिदामा रहेकैबेला नाइके परियारलाई उपचारका लागि लैजान अनुमति दिएको अनुसन्धानबाट खुलेको थियो । नाइके यामराज भागेकै दिन दिउँसो जेलर युवराज र यामराजको बीचमा समेत फोन संवाद भएको कलडिटेलका आधारमा पत्ता लागेको स्रोतको भनाइ छ ।
यसअघि नाइके परियार घोराही कारागारका चौकीदार थिए । बालकृष्ण खाण गृह मन्त्री भएपछि नेपाली कांग्रेस निकट मानिने नेपालगन्जका रिगल ढकाल कारागारका चौकीदार बनाइएका थिए । त्यसपछि यामराज नाइके बनेका थिए । यामराजलाई चौकीदार बनाउनेदेखि नाइके बनाउने सम्मका गतिविधिमा कारागारका जेलर युवराजले प्रक्रियासमेत मिचेको देखिएको अनुसन्धानमा खुलेको जनाइएको छ ।
|
ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु डोल्पा । मुड्केचुला ७ गारापारीमा लु३त २६२५ नम्बरको ट्याक्टर आज बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी थप दुई जना घाइते भएका छन् ।
मृत्यु हुनेमा मुड्केचुला ७ का ५० वर्षीय जंगे सार्की रहेका छन् । त्यस्तै घाइते हुनेमा जुम्ला तातोपानी गाउँपालिका ५ का १९ वर्षीय लक्ष्मण न्यौपाने, मुड्केचुला ९ होर्तमा लंकु बुढा रहेको प्रहरीले जनाएको छ ।
ट्याक्टर चालक बेपत्ता भएको प्रहरीले जनाएको छ । जुम्लाबाट सर्मी आउँदै गरेको ट्याक्टर दुर्घटना भएको हो । |
गोलबजारमा सटर फोडेर १० लाखभन्दा बढीको चोरी काठमाडौं। सिरहाको दुई किराना पसलमा सटर फोडेर १० लाखभन्दा बढी मूल्यको सामग्री तथा काउन्टरमा रहेको नगद चोरी गरेको छ ।गोलबजार नगरपालिका ६ गुम्बाचोकस्थित मनोज इन्टरप्राइजेज र लक्ष्मी जेनरल स्टोरबाट करिब नौ लाख मूल्य बराबरको सरसामान तथा दुवै पसलमा गरी एक लाख नगद चोरी भएकोे हो ।
चोरले किराना पसलको सटर फोडेर मनोज इन्टरप्राइजेजबाट १५ बन्डल सूर्या चुरोट, २० बन्डल सिखर चुरोट, दुई लाख बराबरको रिचार्ज कार्ड, एक थान (डेल कम्पनीको) ल्यापटप र काउन्टरमा रहेको नगद ५० हजार रुपैयाँ चोरी भएको पसल सञ्चालक मनोज साहले जनाएको छ ।
लक्ष्मी जनरल स्टोरबाट १० बन्डल सुर्य चुरोट, १५ बन्डल शिखर चुरोट, एक लाख बराबरको रिचार्ज कार्ड र काउन्टरमा रहेको नगद ५० हजार चोरी भएको प्रहरीले जनाएको छ । चोरीको आशंकामा दुईजनालाई पक्राउ गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्चार्ज सन्तोष राईले बताए । |
सप्तरीमा बियरको बोतल प्रहार गरी महिलाको हत्या काठमाडौं। सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ बरही वीरपुरमा आज बिहान एक महिलाको हत्या भएको छ । स्थानीय जमाहर यादवकी ५० वर्षीया श्रीमती भुटनीदेवी यादवको घाँटी रेटी बियरको बोतल प्रहार गरी हत्या गरिएको अवस्थामा भेटिएको स्थानीयवासी शुभनारायण यादवले जनाकारी दिए ।
घरबाट खरानी लिएर खेतमा फाल्न गएका बेला उनको हत्या गरिएको प्रहरीको भनाइ छ ।यसैबीच घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट एक टोली गएको र घटनाबारे थप विवरण आउन बाँकी नै रहेको जनाइएको छ । साथै अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्ले ले बताए । |
मध्यपश्चिम र सुर्खेत बहुमुखी क्याम्पसबीच समझदारी काठमाडौं । मध्यपश्चिम विश्वविद्यालय सुर्खेत र त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पस सुर्खेत बहुमुखी क्याम्पसबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
मध्यपश्चिम विश्वविद्यालय शिक्षा शास्त्र तथा व्यवस्थापन शास्त्र सङ्काय केन्द्रीय क्याम्पस र सुर्खेत बहुमुखी क्याम्पसबीच सहकार्य गर्ने गरी आज आपसी समझदारी भएको हो । उक्त समझदारी पत्रमा सुर्खेत बहुमुखी क्याम्पसका प्रमुख माधव खनाल, मध्यपश्चिम विश्वविद्यालय शिक्षा तथा व्यवस्थापनशास्त्र सङ्काय केन्द्रीय क्याम्पसका प्रमुखद्वय जसविर रोका र दिपक सिंहले हस्ताक्षर गरेका थिए ।
यहाँको शैक्षिक गुणस्तर वृद्धि गर्न प्राध्यापक–शिक्षक–कर्मचारी–विद्यार्थी र विज्ञबीच सिकाइ आदानप्रदान, अध्ययन–अनुसन्धान, प्रकाशनमा दुवैतर्फ सहकार्य गर्ने गरी सहमति पत्रमा हस्ताक्षर भएको मध्यपश्चिम विश्वविद्यालयका शिक्षाशास्त्र सङ्कायका डीन सहायक प्रा डा लिलाधर तिवारीले जानकारी दिए । सो अवसरमा व्यवस्थापन सङ्कायका डिन प्रा डा दीपबहादुर रावल र शिक्षा शास्त्र सङ्कायका पूर्वसहायक डीन विष्णुकुमार खडकाको उपस्थिति थियो । |
मौसम पूर्वानुमान महाशाखाको अनुरोध काठमाडौं ।पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव आगामी मङ्गलबार र बुधबार देशभर फैलिएर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना देखिएको छ ।
जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर यो मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई/यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्नसक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुनसक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।
आज आइतबारदेखि पश्चिमी नेपालबाट प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशमा सामान्यदेखि पूर्णतया बदली भई यी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा तथा उच्च पहाडी र हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
भोलि सोमबार देशको पहाडी तथा हिमाली भूभागमा सामान्यदेखि पूर्णतया बदली र तराईका भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको बताइएको छ । |
पृथ्वी जयन्तीमा राष्ट्रिय कविता प्रतियोगिता गर्दै सेना काठमाडौं । नेपाली सेनाले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सम्मानमा कविता महोत्सव गर्नेभएको छ ।
सेनाले ३००औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा गैरसैनिक व्यक्तिलाई समावेश गरी राष्ट्रिय कविता प्रतियोगिता–२०७८ आयोजना गर्न लागेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । प्रतियोगितामा कविता प्रस्तुत गर्न इच्छुक कवि तथा कवयत्रीलाई यही पुस १७ गतेभित्र [email protected] मा पठाउन आग्रह गरिएको छ ।
प्रतियोगितासम्बन्धी थप जानकारीका लागि नेपाली सेनाको आधिकारिक वेबपेज www.nepalarmy.mil.np बाट आवश्यक जानकारी प्राप्त गर्न सकिने बताइएको छ । प्रतियोगितामा उत्कृष्ट १० जना सर्जकलाई पुरस्कार स्वरुप जनही रु २० हजार प्रदान गरिने छ । सेनाका अनुसार, थप छनौट भएका २० जना सर्जकलाई जनही रु पाँच हजार नगद र प्रमाणपत्र प्रदान गरिने छ । |
स्रोत नखुलेको रु १६ लाखसहित भारतीय नागरिक पक्राउ काठमाडौं । जिल्ला प्रहरी कार्यालय बाराले स्रोत नखुलेको रु १६ लाख नगदसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
बारा जिल्लाको सदरमुकाम कलैया उपमहानगरपालिकाको वडा नं १० स्थित मटिअर्वा चोकमा खटिएको प्रहरी टोलीले जाँचका क्रममा भारतको विहार मोतिहारी जिल्ला ग्राम पञ्चायत बेदर्वा– ५ बस्ने ३० वर्षीय रङ्गदेश कुशवाहालाई सो रकमसहित हिजो नियन्त्रणमा लिएको थियो ।
स्रोत नखुलेका नगद अवैधरुपमा नेपालतर्फ ल्याउँदै पक्राउ परेका कुशवाहालाई आज सार्वजनिक गरिएको हो । विआर २२ एन ५०१४ भारतीय नम्बरको मोटरसाइकलमा आएको कुशवाहाले हेलमेट तथा पाइन्टको गोजीमा लुकाएको अवस्थामा निजसँग नगद फेला परेको सो कार्यालयका प्रहरी नायब उपरीक्षक राजेश थापाले बताए ।
निजको साथबाट प्रहरीले एक हजार दरका रु एक हजार ३०० थान र रु ५०० दरका ६०० थान गरी कूल रु १६ लाख फेला परेको र निजमाथि आवश्यक अनुसन्धान भइरहेको बताइएको छ । |
जनतामाझमा जाने एमालेको एजेण्डालाई प्रतिगमनसँग जोडियोः शंकर पोखरेल काठमाडौं । नेकपा एमाले महासचिव शंकर पोखरेलले जनताले क्रान्ति मात्र होइन परिवर्तन पनि खोजेको बताएका छन् ।
नेकपा माओवादी केन्द्रको आइतबारबाट सुरु भएको आठौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले देशमा क्रान्ति पटक पटक भएको र जनताले अनुभूति गर्ने गरी परिवर्तन नभएको भन्दै यसमा दलहरू लाग्नुपर्ने बताए ।
‘गिरिजाप्रसाद कोइरालाले पटक पटक भन्नुहुन्थ्यो, ‘एउटै व्यक्तिले तीन तीनवटा आन्दोलनको नेतृत्व गर्नुपर्यो,’ उनले भने, ‘तर, मलाई खल्लो लाग्थ्यो । क्रान्तिका हिसावले ठिक होला । एउटा क्रान्तिले युग परिवर्तन गर्नुपर्ने हो । तर, नेपालमा क्रान्ति भयो । परिवर्तन भएन ।’
नेताहरूबीचको अन्तर कलहलाई आधार बनाएर नेताहरूले नीति र एजेण्डा बनाउँदा जनताप्रति उत्तरदायी बन्न नसकेको बताएका उनले सामूहिक प्रयासबाट देशमा व्यवस्था परिवर्तन भएको स्मरण गर्नुपर्ने बताए ।
देश र जनताको माग सम्बोधन गर्न गठन गरिएको नेकपाको एकता जोगाउन नसक्नु एकअर्कालाई दोष दिएर उम्किन नसकिने भन्दै उनले यसको समीक्षा गर्नुपर्नेमा जोड दिए ।
राष्ट्रियता, स्वाधिनता, परराष्ट्र नीतिमा सबै दलहरू एकजुट हुनुपर्नेमा जोड दिएका उनले समाजलाई बदल्ने विषयमा पनि सबै एकबद्ध भएर अघि बढ्नुपर्ने बताए ।
देशको विकास र समृद्धिका लागि पनि दलहरुबीच साझा एजेण्डा ल्याउनुपर्ने बताएका उनले पार्टी मात्र होइन देशलाई नै बलियो बनाउनुपर्ने धारणा राखे ।
जनताको बीचमा गरिएको वाचा पूरा गर्न नसकेको कुरा जनतालाई भन्न सक्नुपर्ने भन्दै उनले जनतामाझमा जाने एमालेको एजेण्डालाई प्रतिगमनसँग जोडिएकोप्रति आक्रोश व्यक्त गरे |
खेतीको समयमा मल नपाउँदा किसान चिन्तित सर्लाही। सर्लाहीका किसान अहिले मलखाद नपाएर चिन्तित बनेका छन् । हिउँदेबालीका लागि पकेट क्षेत्र मानिने सर्लाहीमा आवश्यक मात्रामा मलखाद नपाउँदा किसानले लगाएको बाली बिग्रिने चिन्ता बढेको छ । जिल्लामा अहिले गहुँबालीको समय रहेको र गहुँबालीमा मल हाल्न नपाउँदा आफूहरुको मेहनत खेर जाने चिन्ता बढेको किसान रामपुकार महत्तोले गुनासो गरे ।
मलखाद नपाएर किसानलाई बाली बिग्रिने चिन्ताले सताएको छ । यहाँ मलखादका बिक्रेताले मलखाद चर्काे मूल्यमा बाहिरै बेच्ने गरेको किसानको आरोप छ । सर्लाहीमा युरिया एक हजार बोरा र डिएपी ८०० बोरा आयात भएकामा युरिया प्रति बोरा ८ सय १५ रुपैयाँ र डिएपी मल प्रति बोरा दुई हजार २ सय ६५ रुपैयाँमा सहकारी संस्थामार्फत बिक्री वितरण गरिएको कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय प्रमुख दीपक थापा मगरले बताए ।
उनका अनुसार स्थानीय निकायको सिफारिसमा आएका डिलरलाई कार्यालयमा आएको मल दामासाहीले वितरण गरिएको छ । डिलरवालाले सरकारी अनुदानमा पाएको मलखाद चर्काे मूल्यमा बिक्री वितरण गरिरहेको किसानको आरोप छ । सरकारी अनुदानको मलखाद जिल्लाका ग्रामीण क्षेत्रमा रहेका किराना पसलदेखि औषधि पसलमा समेत खुलेआम चर्काे मूल्यमा बिक्री वितरण भइरहेको किसानले बताएका छन् ।
जिल्लामा सरकारी अनुदानमा आएको युरिया मल अहिले प्रति बोरा एक हजार २ सय रुपैयाँदेखि एक हजार ५ सय रुपैयाँ र डिएपी मल तीन हजार रुपैयाँदेखि तीन हजार ५सय रुपैयाँसम्ममा किन्न बाध्य भएका छन् । कृषि सामग्री कम्पनीले बिक्री वितरण गरेको मलको वस्तुगत अवलोकन तथा अनुगमन गर्नुपर्ने स्थानीय निकाय र जिल्ला प्रशासन कार्यालय निष्क्रिय भएका कारण अहिले आफुहरुले चर्काे मूल्यमा मलखाद खरिद गर्नुपरेको उनीहरुको आरोप छ ।
कृषि सामग्री कम्पनी लिमिटेडले स्थानीय निकायले सिफारिस गरेका कृषि सहकारीलाई सरकारी दरमा मल दिएको जनाउँदै अनुगमनको काम आफ्नो नभएको भन्दै पञ्छिने गरेको छ । जिल्लामा रहेका २० पालिकाले सिफरिस गरेका १७० कृषि सहकारीमार्फत कार्यालयले मल वितरण गरी रहेको छ । |
सर्लाहीमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु, एक घाइते काठमाडौं।जिल्लाको छुट्टाछुट्टै स्थानमा भएको दुघटनामा दुई जनाको ज्यान गएको छ ।सर्लाहीको नवलपुर–मलंगवा सडक खण्डअन्तर्गत हरिपुर नगरपालिका–६, लक्ष्मीपुरमा साइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको हो । बाटो काट्दै गरेकी सोही स्थान निवासी अन्दाजी ५५ बर्षकी सैफुल खातुनलाई साइकलले ठक्कर दिएको थियो । साइकलको ठक्करबाट टाउकोमा चोट लागेर गम्भीर घाइते भएकी खातुनको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको हो ।
प्रहरीले ठक्कर दिने साइकल र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ । यस्तै महिलाको शव परीक्षणको लागि जनकपुरस्थित अस्पतालमै राखिएको परिवारजनले जनाएका छन् ।यस्तै सर्लाहीको ईश्वरपुरमा भएको सवारी दुर्घटनामा एक पुरुषको ज्यान गएको छ ।
पूर्वपश्चिम लोकमार्गस्थित ईश्वरपुर नगरपालिका–१२, बाँके जंगलमा भएको सवारी दुर्घटनामा लालबन्दी नगरपालिका–७, बस्ने ५६ बर्षका भीम गुरुङको ज्यान गएको हो । सोही दुर्घटनामा अर्का एक जना घाइते भएका छन् । उन्को अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । गएराति अबेर नम्बर नखुलेको सानो सवारीले उनीहरु सवार ना ३४ प ७० २१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
घटनालगतै मोेटरसाईकल चालक लालबन्दी नगरपालिका–३, निवासी ४२ बर्षका जितन चौधरीलाई लालबन्दीस्थित मोडल अस्पताल पुर्याइएको थियो । उनको शरीरको विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ । गम्भीर अवस्थाका गुरुङलाई भने जिल्ला अस्पताल मलंगवा पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।
घटनामा संलग्न ठक्कर दिने सवारी फरार रहेको र खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी माधवप्रसाद बुढाथोकीले जानकारी दिए । मृतक गुरुङकोे शव परीक्षणको लागि जिल्ला अस्पताल मलंगवामा राखिएको छ । |
पर्वतमा बनेको विश्वकै दोस्रो लामो सुपरम्यान जीपलाइन सञ्चालन हुँदै कुश्माबजारमा निर्माण भएको विश्वकै दोस्रो लामो सुपरम्यान जीपलाइन सञ्चालनको तयारीमा छ । कुश्मा नगरपालिका–५ मा पर्ने चाक्लेको डिलबाट कालीगण्डकीको गहिरो खोँच हुँदै साउने बगरसम्म एक हजार ४०० मिटर लम्बाइको जीपलाइन अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।
सबै परीक्षण सकेर एक हप्ताभित्रमा जीपलाइन सर्वसाधारणका लागि खुला गर्ने तयारी रहेको हार्नेस जीपलाइन प्रालिका कार्यकारी प्रमुख सुनिल बानियाँले जानकारी दिए । “प्राविधिक परीक्षणका काम भइरहेका छन्”, उनले भने, “यसलाई सबै सकेर एक हप्ताभित्रमै सञ्चालन गर्ने तयारीमा जुटेका छौँ ।”पछिल्लो समय यहाँ साहसिक खेलको गन्तव्य बन्दै गएको छ ।
जीपलाइनमा दुई जनाले सँगै बग्न सकिने र ६० देखि ९० सेकेण्डमै गन्तव्यमा पुगिनेछ । जीपलाइन भारतको श्याम जीपलाइनले निर्माण गरेको हो । निर्माण कम्पनीका इञ्जीनियर नवीन मेस्सीका अनुसार हावाको गति र खेलाडीको तौलमा जीपलाइनको गति भर पर्ने भए पनि जीपलाइनमा यात्रा सुरु गर्दा प्रतिघण्टा १३० किलोमिटरको गतिमा बगेर गन्तव्य नजिकिँदै जाँदा विस्तारै घट्दै जाने गर्दछ ।
कालीगण्डकी नदीको सतहबाट २३८ मिटरको उचाइबाट यात्रा सुरु हुनेछ भने त्यसको ल्यान्डिङ कालीगण्डकी नदी किनारमा बन्ने रिसोर्टमा हुनेछ । सुपरम्यान शैलीमा पर्वतको जीपलाइन विश्वकै दोस्रो लामो भएको पनि बानियाँले बताए । सुपरम्यान शैलीमा विश्वको सबैभन्दा लामो दुई हजार ८०० मिटरको जीपलाइन दुबईमा रहेको छ । जीपलाइनसँगै नेपालमै युनिक रिर्सोट पनि निर्माणको अन्तिम चरणमा पुगेको छ । रिर्सोटसँगै कालीगण्डकीमा जलयात्रा र रिर्सोट परिसरमा आधा दर्जन अन्य साहसिक खेल पनि सञ्चालन गर्ने योजना अघि बढाइएको बानियाँले बताए ।
यसैबीच राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शनिबार जीपलाइन अवलोकन गर्नुभएको छ । |
आगामी साताको मौसमः अधिकतम तथा न्यूनतम तापक्रम घट्ने काठमाडौँ । यो साता देशको अधिकांश भू–भागमा अधिकतम तथा न्यूनतम तापक्रम घट्ने भएको छ । पश्चिमी वायुको प्रभावले देशको धेरै स्थानमा आंशिकदेखि सामान्य बदली रही अधिकांश भू–भागमा अधिकतम तथा न्यूनतम तापक्रममा गिरावट आउने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
साताको सुरुमा देशको उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । साताको मध्य तथा अन्त्यमा सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम हिमपात र थोरै स्थानमा भारी हिमपातको समेत सम्भावना रहेको औँल्याएको छ ।
देशको पहाडी भू–भागमा साताको सुरुमा आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १ तथा बागमती प्रदेशको एक/दुई स्थानमा हल्का वर्षा र साताको मध्य तथा अन्त्यमा सामान्यदेखि पूर्णतया बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा, थोरै स्थानमा मेघगर्जन चट्याङसहित वर्षा र एक/दुई स्थानमा असिनाको समेत सम्भावना छ ।
देशको तराईका भू–भागमा साताको मध्य तथा अन्त्यतिर सामान्यदेखि पूर्णातया बदली रही साताको मध्यमा थोरै स्थानमा हल्का वर्षा र साताको अन्त्यमा केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । |
पत्रकारलाई सुत्केरी भत्ता र उपचार खर्च काठमाडौँ । प्रेस सेन्टर मकवानपुरले जिल्लाका अग्रज पत्रकारलाई औषधि खर्च र महिला पत्रकारलाई सुत्केरी भएको अवस्थामा भत्ता प्रदान गर्ने निर्णय गरेको छ । सङ्गठनको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
प्रेस सेन्टर मकवानपुरले सुत्केरी महिला पत्रकारलाई भत्ता प्रदान गर्न र ज्येष्ठ पत्रकारलाई स्वास्थ्य उपचार खर्च प्रदान गर्न कोष स्थापना गर्ने निर्णय गरेको जनाएको छ । सङ्गठनकी जिल्ला अध्यक्ष अञ्जली थापाले एउटा कालखण्ड नै समाजको निम्ति व्यतीत गरिसकेको भए पनि पेन्सन र अन्य उपदान नहुने कारण आर्थिक समस्या झेल्नुपर्ने भएकाले प्रेस सङ्गठन मकवानपुरले अग्रज पत्रकारको उपचार खर्च प्रदान गर्ने निर्णय गरेको बताए ।
यसैगरी सुत्केरी अवस्थामा काम गर्न नसक्ने र आर्थिक समस्या पर्ने भन्दै सङ्गठनले सुत्केरी भत्ता दिने निर्णय गरेको अध्यक्ष थापाको भनाइ छ । प्रेस सेन्टर मकवानपुरकी अध्यक्ष थापाको अध्यक्षतामा सम्पन्न बैठकमा प्रेस सेन्टर बागमती प्रदेश अध्यक्ष यदु गौतम, पत्रकार महासङ्घ केन्द्रीय सदस्य सुनिल खड्का, पत्रकार महासङ्घ बागमती महासचिव कृष्णसारु मगरलगायतको उपस्थिति रहेको थियो । |
धारिलो हतियार प्रहार गर्ने पक्राउ काठमाडौं। प्रहरी र अर्को एक सर्वसाधारणलाई धारिलो हतियार प्रहार गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको मन्थली लिखु घर भई हाल जरङ्खु बस्ने वर्ष २९ को शनि तामाङ रहेका छन् ।
काठमाडौँ तार्केश्वर नगरपालिका–८ शेषमतीस्थित लामवजार नजिक सामान्य विषयमा विवाद हुँदा उनले सोही ठाउँका २९ वर्षीय सुवास तामाङलाई घारिलो हतियार खुकुरीले टाउको र घाँटीको पछाडिबाट हिर्काइ घाइते बनाएका थिए । त्यसपछि सूचना प्राप्त हुनासाथ प्रहरी वृत्त बालाजु मातहत प्रभाग धर्मस्थलीमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
सोही क्रममा उनले प्रहरी माथि नै आक्रमण गरेका महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । दुवै घाइतेको ट्रमा सेन्टरमा उपचार गरिएको छ । |
वैशाख १४ गते र २२ गते स्थानीय तहको निर्वाचन गर्न सरकारसमक्ष आयोगको प्रस्ताव काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख १४ गते र २२ गते स्थानीय तहको निर्वाचन गर्न सरकारसमक्ष प्रस्ताव गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवासहित मन्त्रीहरुसँग शुक्रबार छलफल गरेको निर्वाचन आयोगले पहिलो चरणमा वैशाख १४ गते र दोस्रो चरणको २२ गते निर्वाचन गर्न सरकारसमक्ष प्रस्ताव गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
स्थानीय तहका पदाधिकारी पदावधि जेठ ५ गते सकिँदै सकिन लागेको र स्थानीय तह सञ्चालन ऐन अनुसार पदावधि सकिनु २ महिनाअघि निर्वाचन गरिसक्नु पर्ने व्यवस्था रहेको पौडेलले जारी गरेको विज्ञप्तिमा स्मरण गराइएको छ ।
‘सम्पूर्ण सुरक्षा व्यवस्था मिलाई सबै स्थानीय तहको निर्वाचन एकै दिन गर्नु उपयुक्त हुने हुँदा २०७९ वैशाख १४ गते बुधबारका दिन निर्वाचनको मिति तोक्न उपयुक्त हुने र यदि कुनै कारण एकै दिन निर्वाचन गर्न संभव नभएमा पहिलो चरणको वैशाख १४ गते बुधबार र दोस्रो चरणको वैशाख २२ गते बिहीबार गर्न सकिने व्यहोरा प्रमुख निर्वाचन आयुक्त थपलियाले जानकारी गराउनुभएको थियो,’ आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
संविधानको धारा २२५ बमोजिम कार्यकाल समाप्त भएको ६ महिनाभित्र निर्वाचन गर्नुपर्ने व्यवस्था छ । कार्यकाल समाप्त भएपछि स्थानीय तह संचालनसम्बन्धी कुनै स्पष्ट कानुनी व्यवस्था नभएकोले स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ३ बमोजिम कार्यकाल समाप्त हुनुभन्दा २ महिनाअघि नै निर्वाचन गर्न आयोगले प्रस्ताव गरेको हो ।
आयोगको प्रस्तावमा मन्त्रिपरिषदले यसबारे निर्णय गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
|
‘निर्वाचनमा नागरिक सहभागीता बढाउन मिडियाको भूमिका छ’ काठमाडौं। सरोकारवाला निकायका प्रतिनिधिले निर्वाचनमा नागरिकको सहभागिता बढाउन मिडियाको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।
निर्वाचन आयोगले आयोजना गरेको महिला पत्रकारका लागि तालिमको आज यहाँ आयोजित समापन कार्यक्रममा निर्वाचन आयुक्त, आयोगका कर्मचारी र सञ्चारकर्मीलगायतले मिडियाले निष्पक्ष भएर सूचना सम्प्रेषण गर्नुपर्ने आवश्यकता औँल्याए । सो अवसरमा आयुक्त जानुकाकुमारी तुलाधरले आमनिर्वाचनमा सबै वर्गको सहभागिता बढाउन र बदर हुने सङ्ख्या घटाउन मिडियाले सहयोग गर्नसक्ने उल्लेख गरे ।
पत्रकार महिलाले नै महिलालगायत समावेशी वर्गको आवाज उठाउनेमा उनले विश्वास व्यक्त गरे । उनले भने, “अहिले मतदाता नामावली सङ्कलनका क्रमदेखि नै मिडियाले नागरिक सूचित गर्नुपर्ने छ ।”आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनसम्बन्धी समाचार सम्प्रेषण गर्दा मिडिया संवेदनशील हुनुपर्नेमा जोड दिए । पत्रकारलाई अरुले अङ्कुस लगाउन नमिल्ने हुँदा स्वनियमन आवश्यक रहेको उनको भनाइ छ । उनले भने, “पत्रकारले अनुमानका भरमा होइन तथ्यपरक समाचार लेख्न जरुरी छ ।”
नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले निर्वाचनका समयमा मिडियामा गलत सूचना प्रवाह हुँदा त्यसको नियमन र कारवाहीको काम प्रेस काउन्सिल नेपालले गरिरहेको बताए । उनले भने, “एउटै दलले सधैँ नै त्यही नै चिन्ह किन पाइरहने भन्ने पनि बहस गर्न जरुरी छ ।” सञ्चारीका समुहका अध्यक्ष नितु पण्डितले अहिलेको निर्वाचन पद्धतिमा महिला राजनीतिकर्मीलाई अघि आउन गाह्रो भएको बताए । महिला राजनीतिज्ञ र जनप्रतिनिधिले राम्रो काम गर्दागर्दै त्यो विषयले सधैँ मिडियामा कम स्थान पाउने गरेको उनको भनाइ छ । |
मैले जन्ममिति सच्चाएको छैनः न्यायाधीश खड्का काठमाडौं। सर्वोच्च अदालतका न्यायाधीश मीरा खड्काले आफ्नो जन्ममिति नसच्याएको स्पष्ट पारेका छन् । न्यायाधीश खड्काले आज प्रेस विज्ञप्ति जारी गरी न्याय परिषद्द्वारा राखिएको शैक्षिक प्रमाणपत्रसमेतका अभिलेखमा आफ्नो जन्म मितिको पूर्ण र यथार्थ विवरण नै उल्लेख भएको उल्लेख छ ।
“न्याय परिषद्द्धारा राखिएको शैक्षिक प्रमाणपत्रसमेत अभिलेखमा मेरो जन्म मितिको पूर्ण र यथार्थ विवरण नै उल्लेख भएको छ”, न्यायाधीश खड्काले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “मैले जन्ममिति सच्याउनुपर्ने कुनै कारण छैन र सच्याएको पनि छैन, तसर्थ मेरो जन्ममिति फरकफरक रहेको भनी निराधार शङ्का गरी प्रकाशन गरिएको समाचार भ्रामक, असत्य र व्यक्तिगत पूर्वाग्रहपूर्ण छ भन्ने तथ्य प्रष्ट पार्न चाहन्छु ।”
एसएलसीलगायत आफ्ना सम्पूर्ण शैक्षिक तहका प्रमाणपत्रमा जन्ममिति विसं २०१४ जेठ २ गते भन्ने नै उल्लेख भएको र शाखा अधिकृत पदमा न्याय सेवामा प्रवेश गरेपछि २०३९ सालमा आफूले भरेको निजामति कर्मचारीको नोकरी तथा वैयक्तिक विवरण (सिटरोल) फारममा पनि मेरो जन्म सोही नै रहेको उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, “बीचका केही वर्षमा न्याय परिषद् वुलेटिन प्रकाशित हुँदा त्रुटिवश मेरो जन्म मिति २०१३–१०–२८ उल्लेख हुन गएको भएता पनि परिषद् आफैले सो त्रुटी सच्याई २०७१ सालदेखि हाल २०७८ साल पुस ३ गतेसम्म प्रकाशित न्याय परिषद् वुलेटिनमा पनि मेरो वास्तविक जन्म मिति २०१४–०२–०२ भनी उल्लेख गरिएकाले मेरो जन्म मितिको सम्बन्धमा कुनै प्रकारको संशय वा भ्रम रहनुपर्ने कारण छैन”
न्याय परिषद्ले प्रकाशित गरेको कुनै प्रकाशनमा त्रुटिवश कुनै न्यायाधीशको वैयक्तिक विवरण केही सामान्य फरक लेखिन गएका कुरालाई लिएर न्यायाधीशको वैयक्तिक चरित्रमा प्रश्न उठाइनु उचित नभएको न्यायाधीश खड्कोको भनाइ छ । न्यायाधीश खड्काले दुई मितिमा २०१३ माघ २८ र २०१४ जेठ २ मा दुई वटा नागरिकता लिएको भन्ने सार्वजनिक भएको थियो । तर अघिल्लो मिति न्याय परिषद्को वुलेटिनमा त्रुटिवस हुन गएको र आफ्ना सम्पूर्ण शैक्षिक प्रमाणपत्रका २०१४ साल जेठ २ नै रहेको उनले प्रष्ट पारेका छन् । |
सिन्धुपाल्चाेकमा ट्रक दुर्घटना हुँदा एकको मृत्यु सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको मेलम्चीमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा जुगल गाउँपालिका सेलाङका ३३ वर्षीय कमल कार्की रहेका छन्।
बिहान ८ः३० बजे बा २ ख ३६८९ नंको महेन्द्रा निसान ट्रकबाट सामान झार्दै गर्दा क्लज थिचिएर ट्रक दुर्घटना भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राइले बताए।
ट्रक लगभग १०० मिटर तल पुगेको स्थानीयवासीले बताएका छन् । |
नेतृत्व चयनको विषयमा कुरा नमिल्दा अनेरास्ववियू आरआरका विद्यार्थीबीच कुटाकुट काठमाडौं। काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पसमा अनेरास्ववियू क्याम्पस कमिटीका विद्यार्थीहरू एकआपसमा कुटाकुट गरेका छन् । कमिटीको विस्तारित बैठकका क्रममा बिहीबार विहान कुटाकुट भएको हो ।
कमिटी पुनर्गठन र नेतृत्व चयन गर्ने विषयलाई लिएर सोही क्याम्पसका विद्यार्थी र केन्द्रीय कमिटीका पदाधिकारीहरुबीच भनाभन पश्चात झडप भएको थियो । झडपमा परेर केही विद्यार्थी सामान्य घाइते छन् । झडपको भिडियो अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ ।
झडपपछि विस्तारित बैठक स्थगित भएको छ । |
चिट चोर्न नदिएको भन्दै आरआरमा प्राध्यापकमाथि आक्रमण गर्ने विद्यार्थी क्याम्पसबाट निष्कासित काठमाडौं। परीक्षामा सार्न नदिएको भन्दै रत्न राज्यलक्ष्मी क्याम्पसमा प्राध्यापकमाथि सांघातीक आक्रमण गर्ने विद्यार्थी क्याम्पसबाट निष्कासित भएका छन् ।
क्याम्पसमा सञ्चालित आन्तरिक (प्रयोगात्मक) परीक्षाका क्रममा पुस ६ गते सोही क्याम्पसमा स्नातक तह दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी कुवेर जेठाराले परीक्षा हलभित्र प्रवेश गरी निरीक्षक प्राध्यापकमाथि आक्रमण गरेका थिए । त्यसपछि उनले प्राध्यापकमाथि स्टिलको जग प्रहार गरी आक्रमण गरेका थिए ।
जेठाराको आक्रमण प्राध्यापक प्रकाश पुडासैनी घाइते भएका थिए । उनको टाउको ६ टाँका लगाउनु परेको थियो । बिहीबार एक सूचना प्रकाशित गर्दै क्याम्पस प्रमुख डा जीवनधर ज्ञवालीले विद्यार्थी जेठारालाई क्याम्पसबाट निष्कासन गरिएको र उनीविरुद्ध कानुनी कारबाही अगाडि बढिसकेको जानकारी दिएका छन् ।
विद्यार्थीले प्राध्यापकमाथि आक्रमण गरेपछि क्याम्पसका शिक्षकहरु आन्दोलनमा उत्रिएका थिए । जेठारालाई क्याम्पसले निष्कासन गरेपछि आन्दोलनमा रहेका प्राध्यापकहरु नियमित काममा फर्किएका छन् ।
|
तीन दिनभित्र लिखित जवाफ माग काठमाडौं। सर्वोच्च अदालतले ‘बिकिनी किलर’का रूपमा परिचित कुख्यात अन्तर्राष्ट्रिय अपराधी चाल्र्स शोभराज गुरुमुखलाई ज्येष्ठ नागरिकले पाउने सुविधा पाउनुपर्ने हो कि होइन तीन दिनभित्र लिखित जवाफ पेस गर्न आदेश गरेको छ ।
न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले आज उक्त विषयमा तीन दिनभित्र लिखित जवाफ पेश गर्न सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ ।आफ्नो कैद अवधि भुक्तान भइसकेको दावीसहित दायर गरिएको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा उक्त आदेश भएको हो ।
रिट निवेदनमा ज्येष्ठ नागरिकले पाउनुपर्ने सुविधाअनुसार आफूले कैद भुक्तान गरिसकेको उल्लेख छ । |
मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु चितवन । चितवनमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२१ सुर्यनगर सोल्टी चोकमा आज बिहानै मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको हो।
चनौलीबाट गीतानगरतर्फ जाँदै गरेको ना ३० प ९२ ९९ नम्बरको मोटरसाइकल आज बिहान सवा ३ बजे दुर्घटना भएको हो। मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१९ शारदानगरका ३२ वर्षीय जितेन्द्र रसाईली रहेका छन्।
गम्भीर घाइते भएका उनको उपचारका क्रममा भरतपुर अस्पतालमा बिहान साढे ४ बजे मृत्यु भएको प्रहरी चौकी पार्वतीपुरले जनाएको छ । |
सिन्धुलीमा जीप दुर्घटना हुँदा एकको मृत्यु, दुई जना घाइते सिन्धुली । सिन्धुलीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । सिन्धुलीको सुनकोशी गाउँपालिका–६ मा कुखुरा बोकेको जीप दुर्घटना भएको हो।
जीपमा सवार सर्लाहीको लालबन्दी नगरपालिका–१५ का २० वर्षीय कुनथाङ मोक्तानको मृत्यु भएको हो । उनको घटनास्थलमै मृत्यु भएको जनाइएको छ । दुर्घटनामा घाइते भएका जीपका चालकसहित दुईजनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । |
माओवादी प्रदेश १ अधिवेशनः शर्मा र पुन निकटका नेता चुनावी मैदानमा, २९ जनाको उमेदवारी विराटनगर । नेकपा माओवादी केन्द्र प्रदेश १ कमिटीको ९ जना पदाधिकारीका लागि २९ जनाको उमेदवारी परको छ । उद्घाटन भएको १२ दिनमा हुन गइरहेको चुनावमा केन्द्रका दुई नेता निकाटका प्रदेशका नेताबीच प्रतिस्पर्धा हुन लागेको हो ।
अर्थमन्त्रीसमेत रहेका जनार्दन शर्मा र नेता वर्षमान पुन निकटका नेता अध्यक्षका लागि चुनावी मैदानमा उत्रिएका हुन् ।
शर्माका प्रमुख स्वकीय सचिव हर्क बहादुर नेम्बाङ र पुन निकटका मुक्साहाङ मेनाङवोले अध्यक्षका लागि उमेदवारी दिएका छन्।
तीन उपाध्यक्ष पदका लागि ८ जनाको उम्मेदवारी कायम भएको छ । जसमा शिवकुमार डाँगी, भोगेन्द्र प्रसाद यादव, पुरुषोत्तम चुँडाल, मणिकुमार साम्पाङ, उर्मिला तामाङ, देवान चाम्लिङ, इन्दीरा मिश्र र मोहन बहादुर खत्री रहेका छन् ।
सचिव पदका लागि दुई जनाको उम्मेद्वारी परेको छ । जसमा गणेश उप्रेती सुशील र सिपी कडरिया रहेका छन् ।
३ जना सहसचिव पदका लागि भने १३ जनाको उम्मेदवारी परेको छ । जसमा ऋषिराम ढुंगाना (कुसुम), राजु आचार्य, सन्तोष थारु, हर्क लावती, कुमारी राई, निशान्त शर्मा, विजय प्रकाश बनेम, ठमनाथ पराजुली (ध्रुव), कृष्ण जिमी (भरत), दिलकुमार राई, तेजमान कन्दङ्वा र सागर किराती रहेका छन् ।
१ जना कोषाध्यक्षका लागि ४ जनाको उम्मेदवारी परेको छ । जसमा मदनकुमार चुँडाल, रामकुमार कार्की, रेवतराज पुरी (गगन) र बन्दना झाँगड (अनिशा) रहेका छन् ।
माओवादी प्रदेश अधिवेशन गत मंसिर २५ गते मोरङको विराटचोकमा उद्घाटन गरिएको थियो । प्रदेश कमिटी सदस्य भने यसअघिनै टुंगो लागिसकेको छ । पदाधिकारीमा सहमति नभएपछि चुनाव गरेर नेतृत्व टुगाउन लागिएको हो ।
अन्तिम समय सम्म कसरत गरेपनि सर्वसम्मत गर्न नसकिएपछि चुनावमा जानु परेको माओवादी प्रदेश १ का इन्चार्ज राम कार्कीले बताए ।
सर्वसम्मत नेतृत्व चयनका लागि ५ सदस्यीय कार्यदल गठन गरिएको थियो । प्रदेश १ का सहइन्चार्ज अजम्बर काङ्माङको संयोजकत्वमा केन्द्रीय सदस्यहरु सुरेशकुमार राई, इन्द्रबहादुर आङ्बो, हेमराज भण्डारी र रामकुमारी चौधरी कार्यदलमा रहेका थिए । |
आयोगद्वारा दुई हजार ५९८ शिक्षक माग काठमाडौँ । शिक्षक सेवा आयोग सानोठिमीले आज निम्न माध्यमिक विद्यालय तृतीय श्रेणीमा दुई हजार ५९८ शिक्षकको स्थायी पदपूर्तिका लागि दरखास्त आव्हान गरेको छ । आयोगले पुस ७ गतेदेखि माघ ६ गतेसम्म नियमित शुल्कमा र माघ १३ गतेसम्म अविलम्ब शुल्कमा अनलाइनबाटै आवेदन फाराम भर्ने गरी स्थायी पदपूर्तिका लागि आज आह्वान गरेको हो ।
आयोगले अङ्ग्रेजी विषयमा ६२४, नेपालीमा ४३७, गणितमा ३७१, विज्ञानमा ४४०, सामाजिक अध्ययनमा ३५३, शुक्लयजुर्वेदमा एक, गणित–विज्ञानमा ३६४, संस्कृत व्याकरणमा तीन, संस्कृत भाषामा चार र संस्कृत कर्मकाण्डमा एक शिक्षकका लागि दरखास्त आह्वान गरेको हो । परीक्षा भने आगामी चैत १७ गते हुने गरी मिति निर्धारण गरेको आयोगले जानकारी दिएको छ । |
ब्राउन सुगरसहित दुई भारतीय पक्राउ काठमाडौँ । सप्तरीको कञ्चनरूप नगरपालिका–२ कञ्चनपुरबाट २२ ग्राम ब्राउन सुगरसहित दुई भारतीय युवकलाई प्रहरीले आज पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा भारत बिहार राज्य सुपौल जिल्लाको भिमनगर ग्राम पञ्चायत–४ का ३१ वर्षीय गोलु भनिने रतन शर्मा र सोही ठाउँका ३५ वर्षीय जयप्रकाश पासवान रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनरूप नगरपालिका–२ कञ्चनपुरस्थित जाँच गर्ने क्रममा बीआर ५० आर २४९६ नम्बरको मोटरसाइकलमा सवार दुवै जनाको साथबाट २२ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरी नायब उपरीक्षक काफ्लेले जानकारी दिए । यता पक्राउ गरिएको दुवै जनामाथि म्याद थप गराई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । |
लागुऔषधसहित पक्राउ काठमाडौँ । जिल्ला प्रहरी कार्यालय कास्कीले लागुऔषधसहित एक जना व्यक्ति पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय गगनगौँडाको प्रहरी टोलीले पोखरा–३० पावर हाउस चोकस्थित पृथ्वीराजमार्ग सडकखण्डमा सवारीसाधन चाँचका क्रममा स्याङ्जाको फेदीखोला–२ सर्केटारी स्थायी घर भई पोखरा–६ लेकसाइड बस्ने २९ वर्षीय प्रदीप विकलाई पक्राउ गरिएको निमित्त प्रवक्ता प्रनि दीपक केसीले जानकारी दिए ।
उनका अनुसार विकलाई डाइजापाम–५१ एम्पुल, फेनारगन–५१ एम्पुल र नर्फिन–५१ एम्पुल गरी जम्मा १५३ एम्पुल लागुऔषध, रु पाँच हजार, एक थान मोबाइलसहित पक्राउ गरिएको हो । निजलाई लागुऔषधसम्बन्धी कसुरमा कास्की जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । |
चोरीका मोटरसाइकल लुकाएर राख्ने पक्राउ काठमाडौं। मोटरसाइकल चोरी गरी घरमा लुकाइराखेको अवस्थामा काठमाडौँको लामबगरबाट आज दुई जना पक्राउ परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोसाकमा खटिएको टोलीले घरको पार्किङमा लुकाइ राखेको अवस्थामा प्रदेश ३–०२–०११ प ८०७३ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा धादिङ खनियावास गाउँपालिका–३ घर भई हाल गैरीगाउँस्थित लामाबगर बस्ने वर्ष १९ का पारस तामाङ र धादिङ नेत्रावती घर भइ सोही ठाउँ बस्ने २२ वर्षीय वुद्धिबहादुर तामाङ रहेका छन् । पक्राउ भएको उक्त मोटरसाइकल मनमैजु घर कम्पाउण्डबाट गत मङ्सिरमा हराएको भनी काठमाडौँ तारकेश्वर नगरपालिका–८, मनमैजु बस्ने सुजिन्द्र लामाले हुलियासहितको निवेदन दिएका थिए । सोही निवेदनको आधारमा महाशाखाबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरी चोरी मुद्दामा कारबाहीका लागि महानगरीय प्रहरी वृत्त बालाजुमा पठाएको प्रवक्ता प्रहरी उपरीक्षक सञ्जिल शर्माले जानकरी दिए । |
किसानलाई खेत जोत्ने ट्याक्टर वितरण काठमाडौं। जिल्लाको गल्छी गाउँपालिकाले किसानलाई खेत जोत्न आधुनिक प्रविधिको हाते ट्याक्टर (मिनी पावर टिलर) वितरण गरेको छ ।
चालु आर्थिक वर्षको बजेटबाट पचास प्रतिशत अनुदानमा पावर टिलर वितरण गरिएको गाउँपालिकाले जनाएको छ । कृषिमा यान्त्रीकरण गरी उत्पादन बढाउने र लागत घटाउने उद्देश्यले गाउापालिकाले किसानलाई हाते ट्याक्टर प्रदान गरेको हो । गाउँपालिकाको कृषि शाखाले यहाँका १७५ किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरेको जनाएको छ ।
गाउँपालिकाले ठेक्कामार्फत खरिद गरेर ल्याएको डिजेल इञ्जिनको मिनिटिलर ९५ थान, पेट्रोल इञ्जिनको ७९ थान र पावर टिलर एक थान गरी १७५ थान किसानलाई उपलव्ध गराइएको गाउँपालिका कृषि शाखाका टीकाराम खतिवडाले जानकारी दिए ।किसानलाई खेती गर्न सहज होस् भनेर अनुदानमा हाते ट्याक्टर दिइएको गाउँपालिका अध्यक्ष कृष्णहरि क्षेष्ठले बताए । “गाउँका युवा विदेशीएका छन् । काम गर्ने मान्छे खोज्दा पाइँदैैन । गोरु पाल्न छाडेका छन्”,
उनले भने, “खेतीलाई सरल र सहज बनाउन किसानलाई ट्याक्टर दिएका छौं । यसले कम समय लाग्छ । खर्च पनि कम हुन्छ ।” कृषिमा यान्त्रीकरण, व्यवसायीकरण र बजारीकरण गर्नुपर्ने भन्दै उहाँले यसका लागि किसानलाई सहयोग गरिएको बताए । “परम्परागत रुपमा खेती गर्दा आम्दानी भन्दा लागत बढी पर्न गएको छ । कृषिमा यान्त्रीकरण गर्नसके लागत घट्छ, मुनाफा बढ्छ”, उनले भने, “किसानको समस्या बुझेर कृषिमा यान्त्रीकरण गर्नतर्फ लागेका छौँ ।’
कृषिलाई आधुनिकीकरण गर्दै कृषि पकेट क्षेत्रको विकासका लागि किसानका मागका आधारमा कृषि औंजार वितरण गरिएको अध्यक्ष क्षेष्ठको भनाइ छ । रु ७७ लाख १३ हजारको बजेटबाट किसानको मागका आधारमा वडामा वितरण भइरहेको गाउँपालिका कृषि शाखाले जनाएको छ ।कृषि उत्पादन बढाउन र लागत घटाउन गत वर्षदेखि नै किसानलाई कृषि सामग्री वितरण थालिएको र यसबाट किसानले फाइदा उठाउने गाउँपालिका उपाध्यक्ष राधा तिमल्सिनाले बताए । |
‘आगामी वैशाख २० गते स्थानीय तहको निर्वाचन गर्ने तयारी’ काठमाडौं। निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अहिलेको जनप्रतिनिधिको पाँचवर्षे अवधि पूरा हुँदै गरेका कारण आगामी २०७९ साल वैशाख २० गते ७५३ वटै स्थानीय तहको निर्वाचन गर्ने तयारीमा आयोग जुटिरहेको बताएका छन्।
स्थानीय सरकार रिक्त रहने विषय कल्पनासमेत गर्न नसकिने र उनीहरुको अवधि थप गर्ने व्यवस्था अहिलेको मितिसम्म नभएका कारण वैशाखभित्र नै तोकिएको समयमा निर्वाचन गर्न आयोग गम्भीर रहेको उनले बताए । छिट्टै नै स्थानीय तहको निर्वाचनको मिति तय गर्नका निम्ति सरकारसमक्ष सिफारिस गर्ने आयोगले तयारी गरिरहेको उनको भनाइ छ । त्यसपछि २०७९ फागुनभित्र सबै प्रदेशको प्रदेशसभा, प्रतिनिधिसभा र राष्ट्रपति, उपराष्ट्रपति पदको निर्वाचन सम्पन्न गरेर नयाँ जनप्रतिनिधि तथा नयाँ नेतृत्व सुम्पने कार्यमा आयोग प्रवेश गरिसकेको उल्लेख गर्दै त्यसका लागि निर्वाचनलाई स्वच्छ,, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययीरुपमा कार्य गर्न आयोगलाई सहयोग गर्न सञ्चारकर्मीलाई आग्रह गरे ।
‘अबको निर्वाचन लैङ्गिक एवं समावेशी दृष्टिकोणले उपयुक्त हुनेछ’
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त थपलियाले अब आउने निर्वाचन लैङ्गिक एवं समावेशी दृष्टिकोणले उपयुक्त हुने बताएका छन् । निर्वाचन आयोगले काभ्रेपलाञ्चोकको धुलिखेलमा आजदेखि सुरु भएको दुईदिने ‘निर्वाचन सञ्चालन र व्यवस्थापनसम्बन्धी महिला पत्रकारसँग कार्यशाला गोष्ठी’मा उनले निर्वाचन आउनै लाग्दा महिला पत्रकारलाई राखेर विभिन्न विषयमा छलफल गर्न लागिएको बताए । पत्रकार विचार र समाचार सम्प्रेषण गर्ने मात्रै नभएर परिवर्तनको संवाहक, दुःखसुख बिसाउने, आपत विपद्मा भरपर्दो साथी र सामाजिक जागरण ल्याउने सारथी पनि भएका कारण आयोगले महिला पत्रकारसँगको छलफल कार्यक्रमलाई अगाडि बढाएको प्रमुख आयुक्त थपलियाले सुनाए ।
“निर्वाचन सञ्चालन र व्यवस्थापनका सन्दर्भमा त्यसलाई कसरी अगाडि बढाउने भन्ने विषयमा केन्द्रित भएर छलफल हुनेछ”, उनले भने, “जसबाट प्राप्त सुझावलाई आगामी दिनमा आम सञ्चारको क्षेत्रलाई निर्वाचनका सन्दर्भमा व्यवस्थापन गर्ने उपयुक्त रणनीति बनाउने छौँ ।” सो क्रममा उनले बहुदलीय व्यवस्थामा दल महत्वपूर्ण सरोकार हुने भएकाले राजनीतिक दलको दर्ता, नियमन विवाद निरुपणका साथै निर्वाचनका विभिन्न व्यवस्थापन गर्ने क्रममा मतदानस्थल, मतदान केन्द्रको व्यवस्थापनको काम गर्ने हुँदा निर्वाचनलाई लक्षित गरेर विभिन्न नीति, रणनीति, आचारसंहिताको कार्यान्वयनको काममा केन्द्रित रहेर गर्दै आएको काममध्ये अहिले सञ्चालन भएको उनले बताए ।
|
ललिता निवास प्रकरणमा मुछिएका एक दम्पती पक्राउ काठमाडौं। ललिता निवासको जग्गा हिनामिना प्रकरणमा मुछिएका भनिएका एक दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा ५६ वर्षीय रामकुमार सुवेदी र उनकी पत्नी ५२ वर्षीया माधवी सुवेदी रहेका छन् । माधवीलाई ताहाचल र रामकुमारलाई कमलादीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)का प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोका अनुसार उनीहरु ललिता निवास प्रकरणका मुख्य ठेकेदार (विचौलीमा) रहेको र सुरुदेखि अन्तिमसम्मको सम्पूर्ण प्रक्रियामा संलग्न रहेको देखिएको छ । उनीहरुलगायत विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसअघि नै विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ ।
पक्राउपछि अनुसन्धानका लागि म्याद थप गर्न अदालत लगिएको पनि महतोले जानकारी दिए । यसअघिको सिआइबीको अनुसन्धानले उनीहरुसहित ४०० जनाविरुद्ध मुद्दा चलाउनुपर्ने निष्कर्ष निकालेको थियो । |
जग्गा बैना गरेर ठगी गरेको आरोपमा पक्राउ काठमाडौँ ।जग्गा बैना गर्दै गठी गर्ने गरेको आरोपमा आज साँझ प्रहरीले काठमाडौँबाट एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सङ्खुवासभा घर भई हाल काठमाडौँको बौद्ध बस्ने ५३ वर्षीय दुर्गाबहादुर भण्डारी रहेका छन् । जग्गा बैना गरेर जग्गा पनि नदिने र बैना पनि फिर्ता नगरी पैसा नभएको चेक दिई ठगी गर्दै आइरहेको भनी महानगरीय प्रहरी वृत्त बौद्धमा परेको उजुरीका आधारमा उनलाई काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका–६ थलीबाट पक्राउ गरिएको परिसरका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।
उनले जग्गा खरिद गरिदिन्छु भन्दै पैसा बैना गर्ने तर जग्गा नामसारी नगर्ने र पैसा माग्दा चेकबाट पैसा फिर्ता लिनु भन्दै पैसा नभएको बैंक खाताको चेक दिने गरेको खुल्न आएको प्रहरीले जनाएको छ । उनले अहिलेसम्म यसरी आठ जनाबाट रु एक करोड ६६ लाख ५० हजार ठगी गरेको खुल्न आएको छ । उनको विषयमा अनुसन्धान जारी रहेको जनाइएको छ । |
न्याय सेवा आयोगको बैठक बुधबार काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्याय सेवा आयोगको बैठक बुधबारका लागि बोलाएका छन्।
आयोगको बुधबार अपराह्न ३ बजे बस्ने बैठकले जिल्ला न्यायाधीशको लिखित परीक्षाको नजिता प्रकाशन गर्नेछ । “न्याय सेवा आयोगको भोलि ३ बजे बैठक बोलाइएको छ”, न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले भने, “जिल्ला न्यायाधीशको लिखित परीक्षाको नतिजा प्रकाशन गर्नका लागि बैठक बस्न लागेको होे ।”
आयोगमा प्रधानन्यायाधीश अध्यक्ष रहने व्यवस्था छ भने सदस्यमा कानून न्याय तथा संसदीय मामिलामन्त्री, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश, महान्यायाधिवक्ता र लोकसेवा आयोगका अध्यक्ष रहने कानूनी व्यवस्था रहेको छ । |
प्रधानसेनापति प्रथम राष्ट्रिय लन टेनिस प्रतियोगितामा पुरुष सिङ्गलतर्फ कास्कीका खड्का प्रथम काठमाडौँ । प्रधानसेनापति प्रथम राष्ट्रिय लन टेनिस प्रतियोगितामा पुरुष सिङ्गलतर्फको उपाधि कास्की पोखराका प्रदीप खड्काले जितेका छन् ।
सैनिक मुख्यालय परिसरमा आज आयोजित प्रतियोगितामा बुटवलका ऋतिक रानालाई सिधा सेटमा पराजित गर्दै उनले उपाधि जितेका छन् । प्रधानसेनापति प्रभुराम शर्माले प्रतियोगिताका विजयी र उपविजयी खेलाडीलाई क्रमशः जनही रु ५० हजार र २५ हजार नगद तथा प्रमाणपत्र प्रदान गरे।
नेपाल टेनिस सङ्घको प्राविधिक सहयोगमा नेपाली सेनाद्वारा आयोजित प्रतियोगितामा मुलुकका १५ क्लवका १८५ खेलाडीको सहभागिता थियो । विभिन्न १२ ‘इभेन्ट’ २०१ प्रतिस्पर्धा भएको सो प्रतियोगिता गत मङ्सिर २७ गते प्रारम्भ भएको हो । प्रतियोगितामा महिला एकलतर्फ सलोनी तामाङ र डबल्सतर्फ एपिएफका सर्भानी श्रेष्ठ र सलोनी तामाङ प्रथम भए।
यसैगरी पुरुष डबल्सतर्फ जीतेन्द्र परियार र प्रणव खनाल, भेट्रान्स ३५ वर्ष माथि एकलमा जीतेन्द्र परियार, डबल्समा निमा लामा र सुमित मैनाली, भेट्रान्स ४५ वर्ष माथि एकल चन्द्र शाही, डबल्समा कृष्णराज घले र महेश श्रेष्ठ प्रथम भए । त्यस्तै भेट्रान्स ३५ वर्ष माथि एकलमा विमलकुमार गुरुङ, डबल्समा कृष्णराज घले र सूवर्ण ढक्का, भेट्रान्स ६५ माथि एकलमा विदुर विष्ट प्रथम भए भने ईन्टरगर्भमेन्टलतर्फको उपाधी उत्तम बोगटी र चन्द्रबहादुर थापाले जितेका थिए ।
प्रतियोगिताका विजयी टोली र खेलाडीलाई प्रधानसेनापति शर्मा, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्र राना, बलाकृतरथी बालकृष्ण कार्की, बलाध्यक्षरथी सरोजप्रताप राणा, प्रहरी महानिरीक्षक शैलेश थापा र नेपाल टेनिस सङ्घका अध्यक्ष ज्योति राणाले नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे ।नेपालमा टेनिस खेलको विकास र विस्तारमा सहयोग पु¥याउने एवम् टेनिस खेलको सिप विकास, कौशल र क्षमता अभिवृद्धि गर्ने उद्देश्यकासाथ आयोजना गरिएको उक्त प्रतियोगिताका विभिन्न उमेर समूह र विधाका खेलाडी संलग्न गराइएको नेपाली सेनाले जानकारी दिएको छ ।
प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपीएफ), फ्ल्यास स्पोर्टस् क्लब लाजिम्पाट, कास्की जिल्ला टेनिस सङ्घ, काठमाडौँ जिल्ला लन टेनिस सङ्घ, ग्रीनल्याण्ड टेनिस क्लब, टिम टेनिस नेपाल, त्रिभुवनआर्मी क्लब, नेपला पुलिस क्लब, नर्लिङ स्पोर्टस भिल्ला, भादगाउँ स्पोर्टस्, मण्डिखाटार टेनिस क्लब, याक एण्ड यति क्लव, रुपन्देही लन टेनिस सङ्घ, सातदोबाटो टेनिस क्लब र सेन्ट जेभियर्स क्लबको सहभागिता थियो ।
समारोहमा सैनिक तालिम महानिर्देशक निरञ्जनकुमार श्रेष्ठले राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतियोगितामा उत्कृष्ट खेलाडी उत्पादन गर्ने ध्येयले प्रतियोगिता आयोजना गरिएकको बताए । प्रतियोगितामा सेनाको त्रिभुवन आर्मी क्लवले च्याम्पियन भई शिल्ड प्राप्त गर्न सफल भयो । |
अदालतको अवहेलना मुद्दामा पत्रकार दोषि काठमाडौं ।अदालतको अवहेलना गरेको कसुरमा जिल्ला अदालत सुर्खेतले दाङका एक पत्रकारलाई दोषी ठहर गरेको छ । पत्रकार एग्गेबहादुर बुढामगरलाई अदालतको अवहेलनासम्बन्धी कसुरमा पाँच महिना जेल सजाय तथा रु पाँच हजार जरिवाना तोकेको हो ।
न्यायाधिश डा राजेन्द्रकुमार आचार्यको एकल इजलासले सोमबार पत्रकार बुढामगरलाई उक्त सजायको फैसला गरेका हुन्। अदालतले पीडितको पहिचान गोप्य राख्न सञ्चारमाध्यमलगायत सरोकारवाला निकायलाई जारी गरेको निर्देशनात्मक आदेशको उल्लङ्घन गरेको कसुरमा दाङबाट प्रकाशित राप्तीपश्चिम डटकमका प्रकाशक÷सञ्चालक बुढामगरलाई जरिवानासहित कैद सजायको फैसला सुनाएको हो ।
सुर्खेतको गुर्भाकोट नगरपालिकामा राउटे समुदायका दुई युवतीमाथि बलात्कार भएको घटनालाई लिएर सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा पीडितको पहिचान खुलाइएको पाइएकाले अदालतले २०७८ जेठ २८ गते गृह मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल पत्रकार महासङ्घका नाममा निर्देशनात्मक आदेश जारी गरेको थियो । उक्त आदेशको उल्लङ्घन गरी प्रतिवादीका कानूनी व्यवसायीलाई धम्की दिएको भन्दै पत्रकार बुढामगरविरुद्ध गत असोज १९ गते अदालतमा मुद्दा दायर भएको थियो ।
जिल्ला अदालत, सुर्खेतका श्रेस्तेदार ठाकुरप्रसाद पौडेलले पीडित राउटे युवतीको पहिचानसहित अनलाइनमा समाचार लेख्नुका साथै सामाजिक सञ्जाल फेसबुकमा कानून व्यवसायीविरुद्ध धम्की दिएकाले प्रतिवादी पक्षले अदालतको अवहेलना शीर्षकमा दायर गरेको जानकारी दिए । श्रेस्तेदार पौडेलका अनुसार न्यायाधिश आचार्यकै इजलासले नेपाल पत्रकार महासङ्घ केन्द्रीय कार्यालयलाई राउटे युवतीका बारेमा प्रकाशित÷प्रशारित सामग्री हटाउन ध्यानाकर्षण गराउन, जिल्लास्थित पत्रकारको संगठनमार्फत यस्ता सामग्री प्रचार–प्रसार नगर्न÷नगराउन ध्यानाकर्षण गराउन, युट्युवलगायतका सामाजिक सञ्जालमा राखिएका राउटे समुदायकी पीडित युवतीका सामग्री हटाउन सङ्घीय सरकारमार्फत विज्ञप्ति जारी गर्न र जिल्ला प्रशासन कार्यालय सुर्खेतमार्फत आवश्यक कारबाही अघि बढाउन निर्देशनात्मक आदेश जारी गरेको थियो ।
गुर्भाकोट नगरपालिका–९, आपसोतीस्थित राउटे समुदायका दुई युवतीलाई स्थानीय चमन घर्ती, भुपेन्द्र बुढा र विनोद पुनले होटलमा लिएर अश्लिल क्रियाकलाप गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । सोही भिडियोका आधारमा प्रहरीले घटनाको अनुसन्धान प्रक्रिया अघि बढाएको थियो । “संवेदनशील विषयमा समाचारलगायतका सामग्री प्रस्तुत गर्दा पीडितको सुरक्षा र पहिचानको विषयमा गम्भीर हुनुपर्नेमा सो नगरेको देखिएको, करणीजन्य अपराधका सामग्री गोप्य हुन्छन् भन्ने विषय प्रत्येक सचेत नागरिकलाई थाहा हुनैपर्ने विषय हो,” फैसलामा भनिएको छ, “सामाजिक क्षेत्रमा समाचार सम्प्रेषण गर्नेले परिणामको गाम्भीर्यतासमेतलाई मध्यनजर गर्नुपर्ने हुन्छ, सो विषयमा गम्भीर नभई पीडितको पहिचान खुलाएको अवस्था हुँदा यो कानुनी कारबाहीको विषय हुन आयो ।”
फैसला भएको २४ घण्टाभित्र शर्तसहित माफी मागेको खण्डमा कसुरदारले कैद सजाय भुक्तान गर्न नपर्ने उल्लेख छ । श्रेस्तेदार पौडेलका अनुसार फैसलामा जुनजुन सामाजिक सञ्जाल प्रयोग गरी कसुर गरेका हुन् तिनै सामाजिक सञ्जालमा क्षमायाचना प्रकाशित गर्नुपर्ने, प्रकाशित सामग्री ६ महिनासम्म सामाजिक सञ्जालमा रहनुपर्ने, २४ घण्टाभित्र माफी मागेर त्यसको स्क्रिनसट सात दिनभित्र पेश गर्नुपर्ने शर्त पूरा गरेपछि कैद मिनाहा गरिएको बताए । कैद मिनाहापछि पत्रकार बुढामगर हिरासतबाट मुक्त भएका छन् । |
अभिजितका हत्याराको सुराग दिनेलाई अमेरिकाद्वारा ६० करोड रुपैयाँ पुरस्कारको घोषणा काठमाडौं। बंगलादेशमा २०१५ मा मारिएका अभिजित रोयको हत्याराबारे कुनै सुराग दिनेलाई अमेरिकाले ५ मिलियन डलर (६० करोड रुपैयाँ) पुरस्कार घोषणा गरेको छ । अभिजितको हत्याको आरोप लागेका २ दोषीहरु फरार छन् । उनीहरुबारे जानकारी दिनेलाई अमेरिकाले पुरस्कार घोषणा गरेको हो । अमेरिकी विदेश मन्त्रालयको ‘रिवार्ड फर जस्टिस’ कार्यक्रमले सोमबार ट्वीट गरेर सैयद जिया उल हक उर्फ मेजर जिया र अकरम हुसैनको जानकारी दिनेहरुलाई पुरस्कारको घोषणा गरेको हो ।
ट्वीटमा लेखिएको छ ‘२०१५ मा बंगलादेशमा अमेरिकीहरुमाथि हमला गर्नेहरुको जानकारी दिनको लागि ५ मिलियन डलरसम्म पुरस्कार । ढाका, बंगलादेशमा आतंकवादीहरुले अभिजित रोयको हत्या गरिदिएका थिए र उनकी पत्नी राफिदा अहमदलाई घाइते बनाएका थिए । यदि तपाइँलाई यो जघन्य अपराधका जिम्मेवार व्यक्तिहरुको जानकारी छ भने हामीलाई तल दिइएका नम्बरमा म्यासेज गर्नुहोस् ।’ यो ट्वीटमा एउटा पोस्टर पनि छ जसमा यो हत्याको घटना र यससँग सम्बन्धित विवरण छ ।
Reward! Up to $5 Million for Information
On Attack Against Americans in Bangladesh
In 2015, terrorists killed Avijit Roy and wounded his wife, Rafida Ahmed, in Dhaka, Bangladesh.
If you have info on those responsible for this heinous attack, text us at the number below. pic.twitter.com/cB26VVBKve
— Rewards for Justice (@RFJ_USA) December 20, 2021
अमेरिकी विदेश मन्त्रालयको तर्फबाट ट्वीट गरिएको पोस्टरमा लेखिएको छ ‘२६ फेब्रुअरी २०१५ मा जब अभिजित रोय र उनकी पत्नी राफिया बोन्या अहमद ढाका पुस्तक मेलाबाट फर्किरहेका बेला अल कायदासँग जोडिएका आतंकवादीहरुले रोयको हत्या गरिदिए र उनकी पत्नीलाई घाइते बनाए । यो हमलामा भूमिकाको लागि बंगलादेशी अदालतले ६ जनालाई दोषी ठहर गरेको छ र सजाय दिएको छ ।’
पोस्टरमा अगाडि लेखिएको छ ‘यीमध्ये २ अभियुक्त सैयद जिया उल हक उर्फ मेजर जिया र अकरम हुसैन ट्रायलको सुरुवातदेखि फरार छन् । यदि तपाइँलाई हक, हुसैन वा यो आक्रमणमा संलग्न कुनै अरु पनि व्यक्तिबारे जानकारी छ भने त्यसको जानकारी तल दिइएको नम्बरमा हामीलाई संकेत, ट्लीग्राम वा ह्वाट्सएपमार्फत दिनुस् । तपाइँ पुरस्कारको पात्र हुन सक्नुहुन्छ ।’
पेसाले बायो इन्जिनियर रहेका अनलाइन अभियन्ता अभिजित रोय बंगलादेशी मूलका अमेरिकी नागरिक थिए जसको २६ फेब्रुअरी २)१५ मा हत्या भएको थियो । यो आक्रमणको जिम्मेवारी दुई सम्बन्धित समूहले लिएका थिए जसमध्ये एउटा अंसारुल्लाह बांग्ला टिम र अर्को भारतीइ उपमहाद्विपमा अल कायदा (अकिस) ले लिएका थिए । यी दुवै समूह अल कायदाबाट प्रेरित थिए ।
२०१९ मार्चमा मा पुलिसले चार्जशीट दायर गरेर अगष्टदेखि सुनुवाइ सुरु भएको यो मामिलामा अदालतले यही वर्षको फेब्रुअरीमा ६ जनालाई दोषी ठहर गरेर सजाय सुनाएको थियो । ६ जनामध्ये ५ जनालाई मृत्युदण्ड र एक जनालाई आजीवन कारावासको सजाय सुनाइएको थियो । फरार रहेका दुवैलाई मृत्युदण्डको सजाय सुनाइएको थियो । |
रेडक्रसका कर्मचारी एक हप्तादेखि आन्दोलित काठमाडौँ । नेपाल रेडक्रस सोसाइटी तदर्थ समितिले विधान एवं नियमावली विपरीत काम गरेको जनाउँदै त्यहाँ कार्यरत कर्मचारीले एक हप्ताअघिदेखि आन्दोलनमा उत्रेका छन् ।
मानवीय सेवालाई चुस्त बनाउन अहम् भूमिका निर्वाह गर्ने उनीहरु आन्दोलित हुँदा सोसाइटीका दैनिक सेवा प्रभावित समेत बनेको जनाइएको छ । तदर्थ समितिको २०७७ साल पुस ९ गतेको बैठकले कार्यकारी निर्देशकको पदावधि तीन वर्ष र निर्देशकको पदावधि पाँच वर्ष तोक्ने निर्णय गरेको थियो । यो निर्णय सोसाइटीको विद्यमान ऐन, नियम र नियमावली विपरीत जनाउँदै कर्मचारीले जिल्ला प्रशासन कार्यालय काठमाडौँमा निवेदन दिएका थिए ।
प्रशासनले विधान एवं नियमावली विपरीतका काम नगर्नु भनी सोसाइटीलाई पत्राचार गरेको छ । तदर्थ समितिले प्रशासन कार्यालयका पत्राचार विपरीत कार्यकारी निर्देशक र एक जना निर्देशकलाई सेवाबाट अवकाश दिन थालेपछि कर्मचारी आन्दोलित भएका हुन् । कार्यकारी निर्देशक उमेश ढकाल र निर्देशक डा मनिता राजभण्डारीलाई तदर्थ समितिले अकस्मात् अवकाशको पत्र दिएको बताइएको छ । विसं २०७२ को विनाशकारी भूकम्पपछि खोज, उद्धार तथा पुनस्थापन तथा यसपछि पुन निर्माणमा कार्यकारी निर्देशक ढकालले अहम् नेतृत्व निर्वाह गरेको जनाइएको छ ।
सोसाइटीले विपद र यसपछि अवलम्बन गरेको पुननिर्माण नीतिलाई अहिले रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)ले अनुकरण गरी विभिन्न देशमा अवलम्बन गरेको बताइएको छ । यसै गरी डा राजभण्डारीले विशेष गरी रक्तसेवालाई अझ प्रभावकारी बनाएका थिए। तदर्थ समितिको गत मङ्सिर २२ गतेको निर्णयले उनीहरुलाई अवकाश दिइएको हो । उच्च नेतृत्वलाई अवकाश दिएपछि सोसाइटीका सम्पूर्ण कर्मचारीले सो निर्णय फिर्ता लिन माग गर्दै हस्ताक्षर अभियान समेत गरेका थिए । साथै सङ्घको ब्यानरमा एक हप्तादेखि उनीहरु आन्दोलनमा उत्रेका हुन् । तदर्थ समितिले ती पदमा विज्ञापन गर्न लागेको जनाइएको छ ।
उच्च अदालत पाटनको आदेशअनुसार यही पुस ३ गतेदेखि तदर्थ समिति नै अवैध भएको कर्मचारीको भनाइ छ । सरकारले २०७७ साउन १२ गते रेडक्रसको तत्कालीन कार्य समिति भङ्ग गरी नेत्र तिमल्सिनाको अध्यक्षतामा तीन महिनामा अधिवेशन गर्ने गरी नयाँ कार्यसमिति गठन गरेको थियो ।कोभिडका कारण तीन महिनामा अधिवेशन गर्न सकिएन भनी नेपाल राजपत्रमा सूचना प्रकाशन गरेर एक वर्ष म्याद थप भएको थियो ।
म्याद थप भएको एक वर्षमा पनि कोरोना महामारीले निषेधाज्ञा जारी भएको समय उच्च अदालतले थप गरेकामा त्यो पनि पुस ३ गते सकिएको कर्मचारी सङ्घका अध्यक्ष विष्णु तिमल्सिनाले बताए ।
|
सुनको सिक्री लुटेर भाग्न खोज्ने तीन जना पक्राउ पूर्वी नवलपरासी। सुनको सिक्री लुटेर भाग्न खोज्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। नवलपरासीको गैंडाकोटको अमरापुरीस्थित पसलमा बसिरहेकी अनिता श्रेष्ठले लगाएको सुनको सिक्री लुटेर भग्न खोज्नेका स्थानीय आशीष सुनार, सुस्ताका सन्जय गुरुङ र रुपौलियाका रामबहादुर क्षेत्री पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कावासोतीका अनुसार सुन लुटेर भाग्दै गर्दा स्थानीयले घेरा हालेर उनीहरूलाई सोमबार राति समातेका थिए । उनीहरुबाट जर्मनीमा बनेको एउटा नयाँ रिभल्बर र ४ राउण्ड गोलीसमेत बरामद भएको प्रहरीले जनाएको छ ।
उनीहरू पेशेवर लुटेरा भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनीहरूबाट एउटा मोटरसाइकलसमेत बरामद भएको प्रहरीले जनाएको छ । हतियार कसरी उनीहरूको हातमा परेको हो भनेरबारे अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ । |
परमाणु हतियारको होडमा एक यस्तो देश जसले आफ्नो परमाणु हतियार आफैं नष्ट गरिदियो काठमाडौं। मार्च २४, १९९३ का दिन दक्षिण अफ्रिकाका राष्ट्रपति फ्रेडरिक विलियम डी क्लार्कले एक यस्तो कुराको पुष्टि गरे जसलाई कैयौं वर्ष पछिसम्म पनि हल्ला मात्र मानिएको थियो । उनले विश्वलाई बताएका थिए कि उनको देशले एक गुप्त प्रोजेक्टमा काम गरिरहेको थियो र उसले परमाणु हतियार हासिल गरेको थियो ।
संसदमा दिएको भाषणमा राष्ट्रपतिले देश र विश्वलाई बताएका थिए कि दक्षिण अफ्रिकाले ६ परमाणु बम बनाइसकेको छ । उनले यो विश्वास पनि दिलाएका थिए कि यी बम नष्ट गरिएका छन् र सैन्य आवश्यकताको लागि देशको परमाणु कार्यक्रम पूर्ण रुपमा बन्द गरिएको छ । दक्षिण अफ्रिका जुलाइ १९९१ मा संयुक्त राष्ट्रसंघको एनपीटी (न्यूक्लियर नन पोलिफरेसन ट्रिटी) को पक्ष राष्ट्र बनेको थियो ।
डी क्लार्कले संयुक्त राष्ट्रसंघको परमाणु एजेन्सी इन्टरनेशनल एटमिक इनर्जी अर्गनाइजेशन (आइएइए)लाई परमाणु स्थलसम्म खुला पहुँच पनि दिए ताकि उनका दावीको जाँच गर्न सकियोस् । उनले भनेका थिए कि एजेन्सीले दक्षिण अफ्रिकाका सबै परमाणु स्थलको जाँच गरेर उनको दावीको पुष्टि गर्न सक्छ ।
यो घोषणासँगै डी क्लार्कले दक्षिण अफ्रिकालाई परमाणु हतियार विकसित गर्ने देशहरुको सानो समूहमा सहभागी गराए । साथमा दक्षिण अफ्रिका यस्तो एकमात्र देश बन्यो जसले एनपीडीको सदस्य बन्नुभन्दा पहिले परमाणु हतियार पूर्ण रुपमा त्यागिदियो । १९९० को दशकमा युक्रेन पनि आफ्ना परमाणु हतियार नष्ट गर्न सहमत भएको थियो तर यी हतियार उसले विकसित गरेको नभइ पूर्व सोभियत संघबाट विरासतको रुपमा पाएको थियो ।
सबैभन्दा ठूलो प्रश्न यो हो कि दक्षिण अफ्रिकाले परमाणु बम कसरी बनायो र यिनीहरुलाई नष्ट गर्ने निर्णय किन गर्यो ? दक्षिण अफ्रिकाले १९४८ मा कानुन बनाएर एटमिक इनर्जी बोर्डको स्थापना गरेको थियो । यसको उद्देश्य परमाणु ऊर्जामा सम्भावना खोज्नु थियो । १९६० को दशकको सुरुवाती वर्षमा दक्षिण अफ्रिकाले शोध र विकास गतिविधिहरु सुरु गर्यो र राजधानी प्रिटोरियाबाट करिब ४० किलोमिटर टाढा पेलिंडाबामा परमाणु प्लान्ट स्थापना गर्यो ।
परमाणु कार्यक्रमको यो सुरुवाती चरणमा उद्देश्य शान्तिपूर्ण थियो । दक्षिण अफ्रिकासँग युरेनियम खानीको भण्डार पनि छ । यो अहम पदार्थको संवर्धनका तरिका खोज्ने काम पनि सुरु गरियो । युरेनियम संवर्धन प्रविधि नै परमाणु हतियार विकसित गर्नमा अहम भूमिका निभाउँछ । १९६० को दशकमा पाएको सुरुवाती सफलताबाट उत्साहित सरकारले औद्योगिक स्तरमा काम गर्नको लागि एक पाइलट प्लान्ट स्थापना गर्यो ।
१९७० मा तत्कालीन प्रधानमन्त्री बीजे बोर्स्टरले संसदलाई यी योजनाहरुबारे जानकारी दिए र देशको परमाणु कार्यक्रम शान्तिपूर्ण उद्देश्यको लागि भएको बताए । दक्षिण अफ्रिकासँग युरेनियमका समृद्ध भण्डार थिए र उनले बुझिरहेको थियो कि भविष्यमा संवर्धित युरेनियमबाट आर्थिक फाइदा उठाउन सकिन्छ । यसका साथसाथै देशले नागरिक उद्देश्यको लागि परमाणु विष्फोटकहरुको विकासको सम्भावना खोज्न पनि सुरु गरेको थियो ।
१९७४ मा जब एक रिपोर्टमा भनियो कि हतियार बनाउने काममा सफलता पाउन सकिन्छ त्यसपछि सरकारले यो गुप्त परियोजनालाई मन्जुरी दियो । यद्यपि यो पहल छिटै सैन्य उद्देश्यको लागि परमाणु हतियारको विकासमा बदलियो । तर किन ? जस्तो कि डी क्लार्कले १९९३ मा आफ्नो भाषणमा भनेका थिए कि दक्षिण अफ्रिकाको सीमित युद्ध क्षमता भएका परमाणु हतियार निर्माण गर्ने फैसलाको सुरुवात १९७४ मा भएको थियो । यसको कारण दक्षिण अफ्रिकामा सोभियत सेनाको विस्तारबाट उत्पन्न भएको खतरा थियो ।
कम्युनिस्ट विचारधारा भएका देशहरुको संगठन वार्सा प्याक्टबाट उत्पन्न भएको अनिश्चितता पनि दक्षिण अफ्रिकाले परमाणु हतियार विकसित गर्नुको एक कारण बन्यो । अफ्रिकाको बदलिरहेको सुरक्षा अवस्थाले पनि दक्षिण अफ्रिकाको निर्णयलाई प्रभावित पार्यो । पोर्चुगल अफ्रिकामा आफ्ना उपनिवेशहरु छोडेर गएको थियो । मोजाम्बिक र अंगोला स्वतन्त्र भएका थिए । यहाँ सुरु भएका गृहयुद्धले अन्तर्राष्ट्रिय रुप लिएका थिए । बामपन्थी र पूँजीवादी शक्तिहरुबीच शीतयुद्धको खतरा थियो । क्षेत्री सुरक्षा अवस्था अस्थिर भएका थिए ।
अंगोलामा क्युबाको सेनाको संख्या बढिरहेको थियो । दक्षिण अफ्रिकालाई लागिरहेको थियो कि उसले सुरक्षात्मक हतियार बनाउनु जरुरी छ । अन्तर्राष्ट्रिय स्तरमा पनि देश अलग थलग परेको थियो । राष्ट्रपतिले संसदमा भनेका थिए कि हमला भएको स्थितिमा उनको देश विदेशी सहयोगमा निर्भर रहन सक्दैनथ्यो । आफ्नो रंगभेदको नीतिका कारण पनि दक्षिण अफ्रिका अन्तर्राष्ट्रिय स्तरमा अलग थलग थियो र उसमाथि हतियार खरिद गर्न प्रतिबन्ध लगाइँदै थियो । यी कारणले पनि दक्षिण अफ्रिकाको लागि स्थिति नाजुक थियो र यही समय परमाणु ऊर्जाको क्षेत्रमा पनि दक्षिण अफ्रिका अलग थलग हुँदै गइरहेको थियो ।
अमेरिकाले परमाणु हतियारसँग सम्बन्धित जानकारीहरु दक्षिण अफ्रिकासँग आदान प्रदानमा रोक लगाइदिएको थियो । १०७८ मा अमेरिकाले एक कानुन पारित गरेको थियो जसअनुसार ती देशहरुलाई परमाणु प्रविधि दिन मिल्दैनथ्यो जो एनपीटी (परमाणु अप्रसार सन्धि)का हिस्सा थिएनन् । शीतयुद्धको समयमा विश्व दुई भागमा बाँडिएको थियो र दक्षिण अफ्रिकालाई त्यस समयका दुई महाशक्तिहरु अमेरिका र रुसमध्ये कसैको पनि समर्थन थिएन ।
१९७७ मा जतिबेला दक्षिण अफ्रिका भूमिगत परमाणु परीक्षणको तयारी गरिरहेको थियो त्यतिबेला अमेरिका र सोभियत संघले मिलेर उसलाई रोके । यो अवस्थामा दक्षिण अफ्रिका सरकार यो निर्णयमा पुग्यो कि उसले आफ्नो सुरक्षाको लागि परमाणु बम बनाउनुपर्छ र अप्रिल १९७८ मा दक्षिण अफ्रिका सरकारले तीन चरणको परमाणु निरोध रणनीतिलाई मन्जुरी दियो । यीमध्ये पहिलो थियो देशको परमाणु क्षमताबारे अनिश्चितता कायम राखियोस् अर्थात न यसलाई स्वीकार गरियोस् न अस्वीकार गरियोस् । दोस्रो चरण दक्षिण अफ्रिकाको खतरा उत्पन्न भएका लागू गरिनुपर्ने थियो ।
यी परिस्थितिमा यो तय गरिएको थियो कि अमेरिका जस्तो महाशक्तिलाई निजी रुपमा यो बताइनेछ कि दक्षिण अफ्रिकासँग परमाणु हतियार छन् । यसबाट खतरा समाप्त पार्न अन्तर्राष्ट्रिय सहयोग प्राप्त हुन सक्थ्यो । यदि यसबाट पनि खतरा समाप्त नभएको अवस्थामा दक्षिण अफ्रिकाले सार्वजनिक रुपमा आफूसँग परमाणु हतियार छन् भन्ने कुरा स्वीकार गर्नेछ । साथमा यो पनि तय गरिएको थियो कि बमको भूमिगत परीक्षण गरिनेछ । दक्षिण अफ्रिकाले बमको आक्रामक प्रयोग नगर्ने किनकि यसबाट ठूलो परिमाणमा अन्तर्राष्ट्रिय प्रतिक्रिया हुन सक्छ भन्ने पनि तय गरिएको थियो ।
यो रणनीति लागू गर्नको लागि दक्षिण अफ्रिकाले कम्तीमा ७ परमाणु बम बनाउनुपर्ने थियो । पहिलो १९८२ मा बनाइउको थियो । तर, सातौं कहिल्यै पनि बनाइएन । वास्तविकतामा दक्षिण अफ्रिकाको यो रणनीति पहिलो चरणबाट अगाडि बढ्नै सकेन । एक अनुमानअनुसार यी बमको क्षमता त्यति मात्र थियो जति अमेरिकाले विश्वयुद्धमा जापानको हिरोसिमा र नागासाकीमा खसाएका बमको थियो र यी बम विमानबाट प्रहार गर्नुपर्ने थिए ।
दक्षिण अफ्रिकाको एटमिक इनर्जी कर्पोरेशनका पूर्व निर्देशक वाल्डो स्टंफले १९९५ मा पेश गरेको आफ्नो एक रिपोर्टमा लेखेका थिए कि दक्षिण अफ्रिकाले कहिल्यै पनि यिनीहरुको परीक्षण गरेको थिएन तर यो मान्ने कुनै कारण छैन कि यिनीहरु काम गदैनथे । तर, दक्षिण अफ्रिकाले आफ्ना परमाणु बम नष्ट गर्ने फैसला किन गर्यो ? राष्ट्रपति डी क्लार्कका अनुसार यसका कारण १९८० का अन्तर्राष्ट्रिय राजनीतिक अवस्थामा लुकेका थिए ।
संसदमा आफ्नो भाषणमा उनले अंगोलामा संघर्ष विराम, क्युबाका ५० हजार सैनिक अंगोलाबाट फिर्ता र नामिबियाको स्वतन्त्रताको लागि तीन पक्षको सम्झौताबारे उल्लेख गरेका थिए । यसका अलावा उनले बर्लिनको पर्खाल भत्काइनु, शितयुद्ध समाप्त हुनु र सोभियत संघ विघटन हुनुलाई पनि उल्लेख गरेका थिए । राष्ट्रपतिले भनेका थिए कि यी परिस्थितिमा परमाणु निरोध आवश्यक मात्रै भएको थिएन यो दक्षिण अफ्रिकाको अन्तर्राष्ट्रिय सम्बनधको लागि अवरोधक बनेको थियो ।
२०१७ मा दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपतिले द एटलान्टिक पत्रिकालाई दिएको अन्तरवार्तामा परमाणु बमको विरोध गर्ने आफ्ना कारण बताएका थिए । उनले भनेका थिए ‘मैले यो महसुस गरेको थिएँ कि जो युद्ध ग्रामीण षेत्रमा लडिनुपर्ने थियो त्यसमा यस किसिमका बमको प्रयोग गर्नुपर्ने कुनै कारण थिएन । सो सोच्नु नै दर्दनाक थियो कि हामी पूरै सहरलाई केही घण्टामा नष्ट गर्न सक्छौं । सुरुवातदेखि नै मेरो व्यक्तिगत राय यो थियो कि म बमलाई आफ्नो घाँटीमा झुण्डिएको पासोजस्तै गरी हेरिरहेको थिएँ ।’
१९८९ मा डी क्लार्क सत्तामा आएपछि उनले परमाणु कार्यक्रममा विराम लगाउन सुरु गरे । उनका योजनामध्ये बनाइएका बमहरु नष्ट गर्ने पनि थियो । परमाणु प्लान्टहरु बन्द गरिनु थियो, यी प्लान्टमा उच्च गुणस्तरको युरेनियम संवर्धन गर्नु थियो र यसलाई यो स्तरमा ल्याउनु थियो कि त्यहाँ बम बनाउन नसकियोस् । यसका साथसाथै सरकारले एनपीटीको सदस्य बन्ने प्रक्रिया सुरु गर्यो । देशमा आन्तरिक राजनैतिक सुधार पनि सुरु भए र रंगभेद समाप्त पारियो । राजनीतिक परिवर्तनमा सत्ता नेल्सन मण्डेलाको हातमा गयो ।
संसदमा आफ्नो भाषणमा डी क्लार्कले भनेका थिए कि दक्षिण अफ्रिकाको निर्णयले अन्य देश पनि परमाणु हतियार छोड्न तयार हुनेछन् । द एटलान्टिकलाई दिएको अन्तरवार्तामा उनले उत्तर कोरियाबारे उल्लेख गरेका थिए । उनले भनेका थिए कि उत्तर कोरियालाई बम बनाउनबाट रोक्ने प्रयासमा अन्तर्राष्ट्रिय समुदायले प्रतिबन्धमा जोड दिए र यसको बदलामा प्रोत्साहन राशीमा जोड दिएनन् ।
१९९५ को आफ्नो रिपोर्टमा दक्षिण अफ्रिकाका परमाणु ऊर्जा कर्पोरेशनका पूर्व निर्देशक वाल्डो स्टंफले दक्षिण अफ्रिकाको अनुभवबाट सिक्न सकिने व्यवहारिक पाठ उल्लेख गरेका छन् । परमाणु विशेषज्ञ वाल्डो स्टंफले विश्वलाई चेतावनी दिएका थिए कि न प्रविधि न मूल्य चुकाउनुपर्ने डरले कुनै देशलाई परमाणु कार्यक्रममा अगाडि बढ्नबाट रोक्न सक्छ । उनले भनेका थिए कि भलै युरेनियम संवर्धन प्रविधि र अति उन्नत बम बनाउने प्रविधि धेरै उच्चस्तरीय हुन्छ तर एक उन्नत औद्योगिक देशले यसलाई हासिल गर्न सक्छ ।
उनका अनुसार दक्षिण अफ्रिकाले आफ्नो परमाणु कार्यक्रममा १० वर्षमा २० करोड डलर खर्च गर्दै थियो । उनले यो पनि भनेका थिए कि राजनीतिभन्दा अलग गर्ने तरिका केही विशेष परिस्थितिमा प्रभावकारी हुन्छ तर केही विशेष मामिलामा यो धेरै नोक्सानदायक हुन्छ । स्टंफका अनुसार १९७८ मा अमेरिकाले दक्षिण अफ्रिकाको न्यूक्लियर रिएक्टर चलाउन जरुरी इन्धनमा रोक लगाइदियो र देशमाथि आर्थिक प्रतिबन्ध लगायो । तर, यसबाट अमेरिकाको दक्षिण अफ्रिकामाथि जो असर थियो त्यो पनि समाप्त भयो ।
स्टंफले भनेका थिए ‘यसको अर्थ यो थियो कि क्षेत्रभन्दा बाहिरको कुनै महाशक्तिको दबाब परमाणु हतियार विकसित गरिरहेको कुनै देशमाथि एक हदसम्म मात्र काम गर्छ । अन्त्यमा पूर्ण परमाणु अप्रसारको लागि क्षेत्रीय तनावलाई नै कम गर्नुपर्छ । दक्षिण अफ्रिकाको मामिलामा यही भएको थियो र मध्य पूर्व वा दक्षिण एसिया वा कोरियाली प्रायद्विपमा पनि यही हुनुपर्छ ।’
अन्त्यमा स्टंफले लेखेका थिए कि एनपीटी अन्तर्गत जुन परमाणु अप्रसारको लक्ष्य निर्धारण गरिएको छ त्यो रणनीतिक वा प्राविधिक निर्णयबाट हासिल गर्न सकिँदैन यसका लागि देशका नेताहरुमा राजनीतिक इच्छाशक्ति हुनु जरुरी हुन्छ । यद्यपि यसबाट केही पाठ त सिक्न सकिन्छ जसलाई उत्तर कोरियाजस्तो परमाणु शक्ति वा इरानमाथि लागू गर्न सकिन्छ । तर, सत्य यो हो कि दक्षिण अफ्रिकाको कुरा फरक छ र परमाणु हतियारको इतिहासमा पनि उसको अलग स्थान छ । |
हेटौंडामा तीन जना चढेको स्कुटर दुर्घटना, एक जनाको मृत्यु मकवानपुर । तीन जना चढेको स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका–१६ सिपाली चोकमा हटियाबाट चौघडातर्फ जाँदै गरेको स्कुटर पल्टिँदा २५ वर्षीय सुमन बयलकोटी मृत्यु भएको हो।
सोमबार राति १० बजे तिर भएको दुर्घटनामा परेर दुई जना घाइते भएका छन्। हटियाबाट चौघडातर्फ जाँदै गरेको तीन जना चढेको अनटेष्ट लेखिएको स्कुटर पल्टिँदा बीचमा रहेका बयलकोटी मृत्यु भएको प्रहरीले बताए । बयलकोटीको उपचारका क्रममा हेटौंडा अस्पतालमा गएराती नै मृत्यु भएको हो ।
स्कुटर चालक र पछाडी चढेका एक जना गरी दुई जनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले नियन्त्रणमा लिएको छ । |
महिनावारीको रगतको रंगले बताउँछ तपाई स्वास्थ्य स्थिती काठमाडौंँ । महिनावारी हुनु महिलाहरुको प्राकृतिक प्रक्रिया हो । महिलाको जीवनको एक अभिन्न अंगका रुपमा महिनावारीलाई लिन सकिन्छ ।सामान्यतया यो प्रक्रिया १२ वर्ष देखि सुरु हुन्छ र ५ देखि सातदिनसम्म चल्छ भने कतिपय महिलाको ४ देखि ५ दिनसम्म चल्छ । यो समयमा महिलालाई चिडचिडाहट हुने, शरिर दुख्ने, पेट दुख्नेलगायतका विभिन्न समस्या देखा पर्दछ । सबैलाई लाग्छ महिनावारीको समयमा हुने रक्तश्राव रातो नै हुन्छ । तर वास्तवमा त्यसो हुँदैन । रगतको बाक्लो, खैरो, गाढा रातो र गुलावी रंगको हुन्छ । रगतका विभिन्न रंगले स्वास्थ्य स्थिती ठिक छ कि छैन भन्नेबारे संकेत गर्दछ ।
बाक्लो रगत तथा खैरो रंग- यदि रगत बाक्लो तथा हल्का खैरो रंगको देखा पर्दछ भने यो पुरानो रगत हो । र महिनावारी अनियमित रुपमा भइरहेको छ । यो रगत लामोसमयसम्म पाठेघरमा जाम भएर बसेको हुन्छ र महिनावारीको समयमा ढिक्का बनेर बाहिर निस्कन्छ ।
गुलावी रंग –यदि महिनावारिको समयमा यस्तो रगत देखा परेमा पाठेघरमा संक्रमणको समस्या हुन सक्छ ।
गाढा रातो रंगकाे रगत – ताजा र चाडै बाहिर निस्केको रगत मानिन्छ । यो रगत फिक्का हुन्छ, तर महिनावारि भएको पहिलो दिन बाक्लो रुपमा रक्त श्राव हुन्छ ।
हल्का रातो रंग – यदि रक्तश्राव फिक्का तथा रातो हल्का भइरहेको छ भने तपाई स्वस्थ हुनुहुन्छ । यस्तो रगत महिनावारि भएको चौथो दिनसम्म फ्लो भइरहन्छ ।
कालो तथा गाढा रातो – कालो रगत खतराको संकेत हो । पाठेघरमा संक्रमण भएको कारण यस्तो रगत देखा पर्न थाल्छ । यसको कारण पछि गएर गर्भ नरहने समेत हुन सक्छ । गुलावी रंग –यदि महिनावारीको समयमा यस्तो रगत देखा परेमा पाठेघरमा संक्रमणको समस्या हुन सक्छ । |
श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ काठमाडौँ। श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा भक्तपुरबाट एक पुरुष पक्राउ परेका छन्। पक्राउ पर्नेमा भोजपुर केराबारी घर भई हाल भक्तपुर, सूर्यविनायक नगरपालिका वडा नं. ५ कटुन्जे तज टोलमा डेरा गरी बस्ने २८ वर्षीय जीवन राई रहेका छन्।
प्रहरीका अनुसार आइतबार राति राईले आफ्नै कोठामा २५ वर्षीय श्रीमती मन्दिरा राईलाई कुटपिट गरी मृत अवस्थामा छाडी फरार थिए।
घटनापछि प्रहरी अधिकृतसहितको टोली खटिई राईलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। |
अवैध सुनसहित बंगलादेशी नागरिक पक्राउ काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लुकाई छिपाई लैजान लागेको करीब ३३३ ग्राम सुनसहित एक बंगलादेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बंगलादेशी नागरिक ३५ वर्षीय अस्राफुल इजलाम रहेका छन्।
हिमालयन एयरलाइन्सको उडानबाट दुबईबाट काठमाडौं हुँदै बंगलादेश जान लागेका उनलाई विमानस्थलमा खटिएको प्रहरीले ह्याण्ड ब्यागेज जाँच गर्दा २३३ ग्राम सुनको बिस्कुट २ थान र १०० ग्रामको चेनरोल एक थानसहित पक्राउ गरेको हो ।
उनीमाथि आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर पठाएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ । |
लालबन्दीमा ट्रकको ठक्करबाट एक विद्यार्थीको मृत्यु सर्लाही । सर्लाहीको लालबन्दीमा ट्रकको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ । मृत्यु हुनेमा चन्द्रनगर गाउँपालिका–१ का १६ वर्षीय दीपेन्द्रकुमार यादव रहेका छन् ।
लालबन्दी नगरपालिका–९ स्थित पूर्व पश्चिम लोकमार्ग अन्तर्गत बस्तीपुर चोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ३ ख ७९९० नं को ट्रकले ठक्कर दिँदा यादवको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय लालबन्दीका कार्यालय प्रमुख प्रहरी निरीक्षक निर्मल थापाका अनुसार ट्युसन पढ्न जाने क्रममा पैदल हिँडिरहेका बेला छात्रलाई ट्रकले ठक्कर दिएको थियो। ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रण लिएको छ। |
रक्सी पिएर आफ्नै साथीको हत्या पोखरा । कास्कीमा एक जनाले रक्सी पिएर आफ्नै साथीको हत्या गरेका छन् । अन्नपूर्ण गाउँपालिका १० घान्द्रुकमा बागलुङका ५७ वर्षीय शिव परियारलाई बागलुङकै ३६ वर्षका अर्जुन विकले हत्या गरेका हुन् ।
रक्सी पिएर आपसमा झगडा हुँदा परियारले विकको हत्या गरेका प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । शव घान्द्रुककै चिहान घाटमा भेटिएको थियो ।
विकलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको कास्की प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीले बताए । हत्याको अन्य कारण भने खुलेको छैन ।
उनलाई कर्तव्य ज्यान सम्बन्धी कसुरअन्तर्गत जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको तिवारीले जानकारी दिए । उनीहरू कामको सिलसिलामा घान्द्रुक पुगेका थिए ।
|
मध्यपुरथिमिमा आज साँझदेखि नवदुर्गा नाच सुरु काठमाडौं । मध्यपुरथिमि नगरपालिका क्षेत्रमा आजदेखि नवदुर्गा नाच सञ्चालन हुने भएको छ । मध्यपुरथिमि नगरपालिकाको सहयोग र सहकार्यमा आठ दिनसम्म भक्तपुरको धार्मिक र सांस्कृतिक महत्व बोकेको नवदुर्गा नाच प्रदर्शन गर्ने गरी आज साँझदेखि सुरु भएको नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए ।
उनले भने, “थिमि सांस्कृतिक सहर हो, धेरै लामो समय मध्यपुरथिमिमा प्रदर्शन हुँदै आएको नवदुर्गा नाच ११ वर्षसम्म बन्द हुँदा मेरै पहलमा दुई वर्ष अगाडि पुनः सञ्चालन भएको थियो, गतवर्ष कोरोनाका कारण नाच प्रदर्शन हुन पाएन, यसवर्ष योमरी पून्ही अर्थात् आजदेखि आठ दिनसम्म मध्यपुरथिमिको टोल–टोलमा नवदुर्गा नाच हुनेछ, त्यसको सम्पूर्ण व्यवस्थापन नगरपालिकाले गरेको छ ।”
मध्यपुरथिमिको दिगु टोलबाट सुुरु भएको यो नाच आज रातभर यहीँ रहने छ । यहाँका बासिन्दाले नाच हेर्नुका साथै नवदुर्गाको पूजा गरेका छन् । नाच आठ दिनसम्म बालकुमारी, लायकु, दथुटोल, मरुटोल, वामुने, ताचो, तछुटोल, पोवु, चपाचो, नगदेश, बोडेलगायत टोलटोलमा गएर प्रदर्शन गरिने भएको छ । मध्यपुरथिमिमा दुई दशक लामो समय सञ्चालनमा रहेको नवदुर्गा नाच सुरक्षाका कारणले ११ वर्ष बन्द भए पनि निर्वाचित जनप्रतिनिधि आएपछि २०७५ सालदेखि पुनः सञ्चालनमा आएको थियो ।
नगरपालिकाका प्रमुख श्रेष्ठले भने, “नगरपालिकाले मध्यपुरथिमिको कला, संस्कृति र सांस्कृतिक पर्व जोगाउन बजेट नै विनियोजन गरेर अगाडि बढेको छ, वर्षौदेखि मध्यपुरमा प्रदर्शन हुँदै आएको नवदुर्गा नाच पनि सांस्कृतिक धरोहर नै हो, यसलाई रोक्नु हुँदैन भन्ने लागेर नगरपालिकाकै पहलमा आवश्यक सहयोग, खर्च र सुरक्षाको व्यवस्था गर्दै नाच सञ्चालनमा ल्याएका हौँ ।” नवदुर्गा नाच मध्यपुरथिमिको टोल–टोलमा नाचिने भएको छ भने स्थानीयवासीले श्रद्धा र भक्तिपूर्वक नवदुर्गाको पूजा गर्ने र नाच हेर्ने गर्दछन् । |
लागुऔषधसहित पक्राउ काठमाडौं । काठमाडौँको दक्षिणकालीबाट प्रहरीले लागुऔषधसहित एक जनालाई आज पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–१५ बस्ने वर्ष १९ का अर्जुनकुमार शाह रहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
उनी वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको ना १ ज ६६०६ नम्बरको टाटा सुमोमा सवार थिए । दक्षिणकाली नगरपालिका–५ स्थित फर्पिङ बसपार्कमा उक्त सवारीसाधन जाँच गर्ने क्रममा लागुऔषध फेला परेपछि उनलाई पक्राउ गरिएको परिसरका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।
उनले झोलामा टेपले बाँधेर ल्याएको अवस्थामा फेला पारिएको र फर्पिङस्थित प्रहरीले लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम अनुसन्धान गरिरहेको छ । उनको साथबाट डाइजेपाम ४७५, फेनारगन ४९९, नुफिन ४९३ एम्पुल फेला पारिएको पनि प्रहरीले जनाएको छ । |
टिममा सबैका लागि ढोका खुला छ: सन्दीप लामिछाने काठमाडौं । ज्ञानेन्द्र मल्ललाई हटाउँदै सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) ले नयाँ कप्ताको जिम्मेवारी तोकेसँगै नेपाली क्रकेट विवादमा फसेको छ ।
मल्लसहितका खेलाडीलाई क्यानले कारबाही गरेपछि राष्ट्रिय स्तरमा यसको चर्चा र विरोध भइरहेको छ ।
यसैबीच नयाँ कप्तान नियुक्त भएका नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले आफूलाई कप्तान नियुक्त गरिएकोमा खुसी व्यक्त गरेका छन् ।
उनले आइतबार सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गरेका हुन् ।
उनले नेपाल क्रिकेट टोलीको नेतृत्व गर्ने अवसर पाएकोमा सम्मानित भएको उल्लेख गरेका छन् र आफूलाई निस् शर्त समर्थनका कृतज्ञता ज्ञापन गरेको जानकारी दिए ।
‘छातीमा नेपालको झण्डा बोक्ने मेरो सपना थियो र अब नेपाल क्रिकेट टोलीको नेतृत्व गर्ने अवसर पाएकोमा सम्मानित छु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘म क्यान, नेपाली जनता र विश्वभरिका सबै फ्यानहरूलाई उनीहरूको निःशर्त समर्थन र प्रार्थनाको लागि कृतज्ञ छु ।’
खेलाडी बर्गीकरणको विषयमा असन्तुष्टि जनाउँदै आएका मल्ललाई हटाएर लामिछानेलाई कप्तान नियुक्त गरिएको थियो भने दीपेन्द्रसिंह ऐरीको उपकप्तान पद पनि खोसेको थियो। उपकप्तानको जिम्मेवारी भने कसलाई पनि दिइएको छैन ।
ज्ञानेन्द्र र दीपेन्द्रसहित सोमपाल कामी र कमलसिंह ऐरीलाई सन् २०२२ को सुरुआती ६ महिना सम्मका लागि कारबाही स्वरुप सम्झौताबापत प्राप्त हुने तलब नदिने पनि क्यानले निर्णय गरेको छ ।
क्यानले मल्ललाई राष्ट्रिय टोलीको कप्तान र दीपेन्द्रसिंहलाई उपकप्तानबाट हटाएपछि अन्य खेलाडीहरुले सामाजिक सञ्जालमार्फत सांकेतिक विरोध जनाइरहेका छन् । कारबाहीमा परेका खेलाडी लगायतले नेपाली क्रिकेट नै छाड्न सक्ने आकल भइरहेको बेला सन्दीपले भने सबैलाई टिममा ढोका खुला रहेन बताएका छन् । ‘टोलीका रूपमा हाम्रो योजना सरल रहनेछ। नेपाललाई क्रिकेट विश्वको नक्सामा प्रभावकारी रूपमा राख्ने,’ उनले लेखेका छन्,‘यो हुनको लागि, हामी एक परिवार, एक टोली, एक इकाईको रूपमा खेल्नेछौं । यस टिममा ढोका सबैका लागि खुला रहनेछ ।’
यसअघि कारबाहीमा परेका खेलाडीहरुले पत्रकार सम्मेलन गर्दै बर्गीकरणमा सुधार गरेर छलफलबाट समस्या समाधान गर्न सकिने बताएका थिए ।
खेलकुदमन्त्री सहित नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि यस बारे चासो राखेका थिए भने प्रधानमन्त्री शेरबहादुर देउवाले पनि क्यान अध्यक्षलाई फोन गरेर चासो राखेका थिए ।
|
अवैध काठसहित तीन पक्राउ काठमाडौं । डिभिजन वन कार्यालय चितवनले अवैध रूपमा चोरी तस्करी गरेको एक हजार ३५५ क्युफिट काठसहित तीन जनालाई पक्राउ गरेको छ । पूर्वी चितवनको कालिका नगरपालिकामा रहेका तीन फर्निचर उद्योग र एउटा घरबाट सो परिणाममा काठ बरामत गरिएको हो ।
कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार कालिका नगरपालिका–८ मा रहेको देवी फर्निचर उद्योगबाट ४८७ क्युफिट, सरिता फर्निचर उद्योगबाट ३९२ क्युफिट, कालिका नगरपालिका–१ मा रहेको रुपेन्द्र काष्ठ फर्निचर उद्योगबाट ३५५ क्युफिट काठ बरामत गरिएको छ । यस्तै सो वडाको सूर्यपुरमा रहेको राम घिसिङको घरबाट १२१ क्युफिट काठ बरामत गरिएको छ ।
उनीहरूलाई प्रमुख जिल्ला अधिकारीसहितको टोली र डिभिजन वन कार्यालयको टोलीले पुस १ र २ गते नियन्त्रणमा लिएर आज सार्वजनिक गरेको हो । पक्राउपर्नेमा देवी फर्निचर, सरिता फर्निचार र रुपेन्द्र काष्ठ फर्निचरका एक/एकजना रहेका छन् । अन्य सङ्कलकको खोजीकार्य भइरहेको खनालले बताए । पक्राउ परेका तीन जनालाई जिल्ला दालत चितवनबाट वन ऐन २०७६ अनुसार कारबाहीका लागि समय थप गरिएको उनले जानकारी दिए । |
टोखामा मतदाता नामावली सङ्कलन कार्य सुरु काठमाडौं । टोखा नगरपालिकामा मतदाता नामावली कार्य सुरु भएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको सो नगरपालिकामा आगामी स्थानीय, प्रदेश एवं प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर राख्दै मतदाता नामावली कार्य सुरु गरिएको हो । आजदेखि सुरु भएको मतदाता नामावली सङ्कलन कार्य यही पुस १८ गतेसम्म चल्नेछ ।
नगरपालिकाका प्रमुख शिक्षा अधिकृत बाबुराम गौतमले नगरपालिकाभित्रका नागरिकता लिएका व्यक्तिलाई लक्षित गरेर मतदाता नामावली सङ्कलन कार्य सुरु गरिएको जानकारी दिए । “टोखामा स्थायी ठेगाना भएका र बसाइसराइ गरेर यहाँ आएका व्यक्तिलाई नागरिकता हेरेर मतदाता नामावलीमा समेट्छौँ”, उनले भने । नगरपालिकाको कार्यालयमा मात्र मतदाता नामावली सङ्कलन गर्ने जनाइएको छ । |
ओमिक्रोन भित्रिन नदिन सीमा नाकामा उच्च सतर्कता काठमाडौँ । केही समयअघि दक्षिण अफ्रिकामा पहिचान गरिएको कोभिड–१९ को ‘ओमिक्रोन भेरियन्ट’ भित्रिन नदिनका लागि नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को सीमा नाकामा उच्च सतर्कता अपनाइएको छ ।
भारतसँग सीमा जोडिएको त्रिवेणी भन्सारमा उच्च सुरक्षा सतर्कता अपनाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पङ्गेनीले नयाँ भेरियन्ट जिल्लामा भित्रिन नदिनका लागि स्वास्थ्य सचेतनासँगै सीमामा उच्च सतर्कता अपनाइएको बताए । “हामीले बोर्डरलाई सुरक्षित पार्नका लागि त्रिवेणी स्वास्थ्य चौकीबाट भन्सारमा हेल्थ डेस्क राखेका छौँ”, उनले भने, “सीमा हुँदै नेपाल भित्रिनेहरुको स्वास्थ्य परीक्षण गर्नुका साथै उनीहरुलाई अनिवार्य रुपमा मास्कको प्रयोग गर्न लगाएका छौँ ।” त्रिवेणी भन्सार खुलेको भए पनि यस नाकाबाट यात्रुबाहेक अन्य मालसामान भने आयात निर्यातको काम नभएको उनको भनाइ छ ।
“त्रिवेणी भन्सार हुँदै यात्रु मात्रै आवातजावत गर्दैछन्, मालवाहक सवारीसाधन यो नाकाबाट भित्रिएका छैनन्”, प्रजिअ पङ्गेनीले भने, “२२ डिसेम्बरबाट पटनाले भन्सार खोल्ने भन्ने सुनेका छौँ, त्यसपछि यो नाकामा अझै कडाइ गर्नेछौँ ।” त्रिवेणी भन्सारबाट बिहान भारततिर जाने र बेलुका घर फर्किने तथा बाल्मीकी आश्रम जाने मानिस मात्रै आवातजावत गरेको भन्दै उनले स्वास्थ्य मापदण्ड पालना गर्न लगाइएको बताए । कोरोना भाइरस सङ्क्रमण कम हुँदै गएको अवस्थामा पछिल्लो समय स्वास्थ्य सतर्कतामा लापरबाही भइरहेको उनको भनाइ छ ।
जिल्लामा स्वास्थ्य सचेतना वृद्धि गर्दै खोपको सहजताका लागि सङ्घीय सरकारसँग पहल भइरहेको उनले बताए । बालबालिकाका लागि मोडर्ना खोप लगाउन सुरु गरिएको भन्दै प्रजिअ पङ्गेनीले ज्येष्ठ नागरिकलाई भेरोसिलको बुस्टर डोज लगाउनेबारे तयारी भइरहेको जानकारी दिए । कोरोना भाइरस सङ्क्रमण बढ्न सक्ने भन्दै उनले जिल्लामा हुने कार्यक्रममा स्वास्थ्य मापदण्ड लागू भए नभएको अनुगमन गरिरहेको बताए ।
स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईंले आजदेखि जिल्लाका १२ देखि १८ वर्षसम्मका बालबालिकालाई कोरोना भाइरसविरुद्धको मोडर्ना खोप लगाउन सुरु गरिएको जानकारी दिए । यही पुस १४ गतेसम्म जिल्लाका ४५ हजार विद्यार्थीलाई मोडर्ना खोपको पहिलो मात्रा लगाएर सकिने उनको भनाइ छ । उनका अनुसार माघको २ गतेबाट मोडर्नाको दोस्रो मात्रा विद्यार्थीलाई दिइनेछ । जिल्लामा हालसम्म १८ वर्षमाथिका ८५ प्रतिशत जनसङ्ख्याले कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लगाइसकेका कार्यालय प्रमुख चापागाईंले जानकारी दिए । उनका अनुसार हालसम्म खोपको पूरा मात्रा लगाउनेको सङ्ख्या एक लाख १० हजार तथा पहिलो मात्रा लगाउनेको सङ्ख्या एक लाख ८५ हजार रहेको छ ।
खोपको पहिलो मात्रा लगाएका १८ वर्षमाथिका नागरिकलाई माघको पहिलो हप्ताभित्र दोस्रो डोजसमेत लगाइ सक्ने गरी तयारी भइरहेको उनको भनाइ छ ।जिल्लामा कोरोना रोकथाम र उपचारका लागि पूर्णरुपमा तयारी अवस्थामा रहेको प्रमुख चापागाईले जानकारी दिए । जिल्ला अस्पताल र स्थानीय तहका नगर अस्पतालमा गरी करिब २०० शय्याको आइसोलेशन तयारी अवस्थामा रहेको उनको भनाइ छ । हरेक स्थानीय तहमा चिकित्सक स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको भन्दै यसपटक जिल्लामा अक्सिजनको कमी नहुने चापागाईंले बताए । |
सहकारी सञ्चालन गरी स्वरोजगार बन्दै महिला काठमाडौँ । शुक्लाफाँटा नगरपालिका–१० झलारीका महिला सहकारी सञ्चालन गरी स्वरोजगार बन्दै गएका छन्। बैजनाथ महिला विकास बहुउद्देश्यीय सहकारी संस्था सञ्चालन गरी महिला आयआर्जनका कार्यमा संलग्न हुन थालेका छन् । सहकारीमा रकम बचतसँगै ऋण निकालेर महिलाले व्यवसायीक कृषि, व्यापार र पशुपंछीपालन गर्दै आएका छन् ।
महिलाले नै व्यवस्थापन गर्दै आएको सहकारी संस्थामा नगरपालिका क्षेत्रका एक हजार ११८ महिला आवद्ध रहेका छन् । महिलासँगै सहकारीमा किशोरी ५६ र बालबालिका १४५ समेत आवद्ध छन् । सहकारीका व्यवस्थापक विना क्षेत्रीका अनुसार १९३ महिला व्यावसायिक कृषि, ८१ व्यापार व्यवसाय र ४८ महिला पशुपंछीपालनमा संलग्न रहेका छन् ।
कृषि कर्जा रु ४८ लाख ३३ हजार ८०, व्यापार कर्जा रु २० लाख १४ हजार १६० र पशुपंछीपालनलगायत अन्य कर्जा रु १२ लाख आठ हजार ४९१ गरी जम्मा रु ८० लाख ५६ हजार ६३१ ऋणका रुपमा परिचालन गरिएको छ । आव २०७७/७८ मा मात्रै रु ६४ लाख ५८ हजार कर्जा महिलाले उत्पादनशिल क्षेत्रमा प्रवाह गरेका छन् । सहकारीमा आवद्ध महिलाको रु ५० लाख ८५ हजार ६५५ रकम बचत रहेको छ । सहकारीको सेयर पूँजी रु १४ लाख २१ हजार ९०० रहेको छ ।
“सहकारीमा आबद्ध सदस्यको निधन भएमा परिवारलाई रु दुई हजार किरिया खर्च उपलब्ध गराउने व्यवस्थासमेत गरेका छौँ”, व्यवस्थापक क्षेत्रीले भने, “व्यवसायीक कार्यमा संलग्न महिलालाई विना धितो रु एक लाखसम्मको ऋणसमेत सहुलियत ब्याजमा उपलव्ध गराउँदै आएका छौँ ।” कार्यालयबाटै कर्मचारीलाई वर्षमा एक पटक पोशाक भत्तावापतको रकमसमेत उपलव्ध गराइँदै आएको छ । कोरोना महामारीबाट मृत्यु भएका सदस्यका परिवारलाई रु पाँच हजारका दरले र विपदमा परी धनसम्पती गुमाएका समेतलाई राहतस्वरुप सोहीअनुरुपको सहयोग रकमसमेत उपलव्ध गराइँदै आएको व्यवस्थापक क्षेत्रीले बताए ।
साठी सेयर सदस्यबाट सुरु गरिएको सहकारीमा हाल एक हजार २२७ सदस्य रहेका छन् ।
|
बसको ठक्करबाट स्कुटर चालकको मृत्यु काठमाडौं। पृथ्वी राजमार्गअन्तर्गत तनहुँमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।
व्यास नगरपालिका–१ सिमलटारमा बसले स्कुटरलाई ठक्कर दिदाँ चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा व्यास–२ मालेबगर बस्ने ६० वर्षीय खड्कबहादुर लामा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
ना ७ ख ६४०७ नम्बरको बसले ग १९ प ८५६४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा घाइते भएका लामाको उपचारका क्रममा पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरिक्षक युवराज खड्काले जानकारी दिए । बस र चालक प्रहरी नियन्त्रणमा रहेका छन् । |
के पाकिस्तान टाट पल्टिएको हो ? कुनै देश कस्तो अवस्थामा टाट पल्टिन्छ ? काठमाडौं। पाकिस्तानको वित्तिय मामिलाको जाँच एजेन्सी फेडरल बोर्ड अफ रेभेन्यु अर्थात एफबीआरका पूर्व अध्यक्ष सैयद शब्बद जैदीले यदि हालको चालु खाता र राजकोषीय घाटालाई हेर्ने हो भने यी मुद्दाहरु पाकिस्तान टाट पल्टिएकोसँग सम्बन्धित मुद्दा भएको बताएका छन् । उनले भने ‘सरकारको यो दावी कि सबै कुरा ठिक छ र चीजहरु राम्रा भइरहेका छन् । यी सबै कुरा झुट हुन् ।’ शब्बर जैदीले यो कुरा हालै हमदर्द युनिभर्सिटीमा एक भाषणको क्रममा भनेका थिए ।
अहिले शब्बर जैदीले ट्वीटरमा यस विषयमा सफाइ दिएका छन् । उनका अनुसार उनको भाषणको तीन मिनेटको क्लिपबारे मात्रै कुरा भइरहेको छ । जैदीका अनुसार उनले समाधानको कुरा पनि भनेका थिए । जैदीले भने ‘कसले ऋण लिएको थियो यो विषयमा कसैलाई गाली गर्दैमा केही हुँदैन । यो पाकिस्तानको ऋण हो ब्याज दरमा निर्णय तार्किक तरिकाले हुनुपर्छ । विश्वको कुनै पनि देशको उन्नति निर्यातको दममा हुन्छ । हामीले निर्यातलाई ठिक बनाउनुपर्छ ।’
उनले अगाडि भने ‘ऋण लिने धारणाबाट बाहिर निस्किनुपर्छ । यसबाट देश चल्दैन । हामीले काम गर्ने जनशक्ति निर्यात गर्ने होइन सेवा निर्वात गर्नुपर्छ । अफगानिस्तानमा जबसम्म समावेशी सरकार आउँदैन तबसम्म पाकिस्तान फसिरहनेछ । पाकिस्तानको निर्यात २० अर्ब डलरको छ र हाम्रो खरिददार कोही छ भने पश्चिम हो । हामीले निर्यात बढाउनु छ भने अमेरिकासँग मित्रता गर्नुपर्छ ।’
‘मैले त आजसम्म सीपीइसी बुझोको छैन । यसमा पारदर्शिता ल्याउनु पर्छ । यसबाट हाम्रो अर्थव्यवस्था बर्बाद भइरहेको छ । भारतसँग व्यापारिक सम्बन्ध राख्दैन भनेर जुन नाटक भइरहेको छ यो बन्द हुनुपर्छ । हरेक प्राथमिक स्कुलमा अंग्रेजी हुनुपर्छ । जो बच्चाले अंग्रेजी पढ्दैन ऊ दोस्रो दर्जाको नागरिक बन्छ । तमाम धार्मिक शिक्षा ग्रयाजुएसनपछि मात्र हुनुपर्छ ।’ शब्बर जैदी इमरान खानको सरकारमा १० मे २०१९ देखि ८ अप्रिल २०२० सम्म एफबीआरका अध्यक्ष थिए ।
पाकिस्तान टाट पल्टिएको कुराले चर्चा पाएपछि शब्बद जैदीले ट्वीट गरेर भने ‘हमदर्द युनिभर्सिटीमा मेरो भाषणको गलत व्याख्या भइरहेको छ । त्यहाँ आधा घण्टाको प्रस्तुतीकरण थियो । यसबाट केवल ३ मिनेटको क्लिपका बारेमा कुरा भइरहेको छ । हो मैले चालु खाता र राजश्व घाटाको कुरा उठाएको थिएँ र यो टाट पल्टिएको मुद्दा हो जुन चिन्ताजनक छ । हामीले समाधानतर्फ हेर्नुपर्छ । मैले आफ्नो कुरा पूर्ण विश्वासका साथ भनेको छु ।’
शब्बर जैदीले शनिबार पनि ट्वीट गरेर यो विषयमा आफ्नो पक्ष राखे । उनले ट्वीट गरे ‘मैले किन भनें कि वर्तमान केन्द्रीय वित्तिय ढाँचा अलाभकारी र टाट पल्टिएको छ । केन्द्रीय राजश्व ६५०० अर्बको छ । प्रान्तहरुलाई केन्द्रले ३५०० अर्ब दिन्छ । बाँकी रह्यो ३००० अर्ब । केन्द्रको ऋण सेवाः मन्त्रालय २८०० अर्ब, रक्षा १५०० अर्ब, प्रशासन ३०० अर्ब, एसओइ ५०० अर्ब । मैले राजश्वलाई यहाँ उच्च स्तरमा राखेको छु र खर्चलाई तल ।’
त्यसपछि अर्को ट्वीटमा जैदीले भने ‘मैले लगातार भनिरहेको छु कि म आफ्नो एउटा पनि शब्दबाट पछि हटेको छैन । मैले हेर्नको लागि तथ्य दिइरहेको छु । हामीले केन्द्रीय वित्तिय ढाँचालाई फेरि बनाउनु आवश्यक छ । कुनै पनि किसिमले यसले वर्तमान आकारमा काम गर्न सक्दैन । हामीले जबसम्म यसको लागि काम गर्दैनौं तबसम्म यसले काम गर्ने छैन ।’
शब्बर जैदीको तर्कपछि यो कुरालाई लिएर बहस तीब्र भएको छ कि के पाकिस्तान टाट पल्टिने संघारमा छ वा टाट पल्टिएको छ ? यो बहसका बीच पाकिस्तानका स्तम्भकार फर्रुख सलीमले ट्वीट गरेर भनेका छन् कि टाट पल्टिनु एक लामो प्रक्रिया हो । सलीमले ट्वीटमा लेखेका छन् ‘के पाकिस्तान टाट पल्टिएको हो ?
१. टाट पल्टिनु एक कानुनी प्रक्रिया हो जो ऋणदाताले सुरु गर्छ ।
२. यो अदालतको आदेशबाट लागू हुन्छ ।
३. जो कुनै ऋण तिर्न असमर्थ हुन्छ ।
४. कुनै पनि ऋणदाताले पाकिस्तानविरुद्ध कानुनी प्रक्रिया सुरु गरेका छैनन् ।
५. कुनै अदालतको आदेश छैन ।
६. पाकिस्तानले आफ्ना सबै ऋण तिर्दै आएको छ ।
एक रिपोर्टका अनुसार पाकिस्तानमाथि अहिले ५०.५ लाख करोड पाकिस्तानी रुपैयाँ बराबर ऋण र तिर्नुपर्ने दायित्व छ । योमध्ये २०.७ लाख करोड पाकिस्तानी रुपैयाँको ऋण केवल वर्तमान सरकारमाथि छ । यही रिपोर्टका अनुसार इमरान खान सरकार बनेपछि पाकिस्तानको सार्वजनिक ऋण निकै बढेको छ । एक्सप्रेस ट्रिब्युन अखबारका अनुसार सेप्टेम्बर २०२१ मा स्टेट बै.क अफ पाकिस्तानले ऋणको तथ्यांक जारी गरेको थियो । यसको एक दिन पहिले इमरान खानले बढ्दो ऋणलाई राष्ट्रिय सुरक्षाको मुद्दा भनेका थिए ।
रिपोर्टका अनुसार विगत ३९ महिनामा पाकिस्तानको ऋण २०.७ लाख करोड पाकिस्तानी रुपैयाँ बढेको छ । यो देशको कूल ऋणमा ७० प्रतिशतको वृद्धि हो । एक्सप्रेस ट्रिब्युनको रिपोर्टअनुसार अन्तर्राष्ट्रिय मुद्रा कोषले पाकिस्तानको ऋण लिने निवेदनलाई रद्द गरिदिएको थियो किनकि आइएमएफ स्टेट बैंक अफ पाकिस्तानको ऋण लिने शर्तहरुमा सहमत थिएन ।
के पाकिस्तान टाट पल्टिन लागेको हो ?
कुनै देशलाई टाट पल्टिएको घोषणा गर्न एकसाथ कैयौं आर्थिक शक्तिहरुले काम गर्छन् । कुनै देशलाई टाट पल्टिएको घोषणा गर्नु कुनै कम्पनीलाई टाट पल्टिएको घोषणा गर्नुजस्तो होइन तर एक देशको मौद्रिक नीतिको स्थिति अन्य कारकहरुभन्दा माथि हुन्छन् जसले कुनै देशको हैसियतलाई देखाउँछन् । यसका साथै लगानीकर्ताहरुको विश्वासले पनि कुनै देशको टाट पल्टिने हैसियतलाई बताउँछन् जसमा मुडीज जस्ता कम्पनीको क्रेडिट रेटिङले पनि ठूलो भूमिका निभाउँछ ।
मिच रेटिङ्सले हालै पाकिस्तानको अर्थव्यवस्थामा सुधारको सम्भावनाको आधारमा आफ्नो रेटिङमा सुधार गर्ने कुरा दोहोर्याएको थियो । यही वर्ष मेमा पाकिस्तानलाई ऋण दिने जोखिममा उसलाई ‘बी’ रेटिङ दिइएको थियो । यो रेटिङ एजेन्सीहरुले एक देशको वित्तिय जिम्मेवारीको इतिहास, उनीहरुको पछिल्लो तिर्नुपर्ने दायित्वमा चुक र आइएमएफको वर्तमान ऋण तिर्ने योजनाहरु हेरेर क्रेडिट दिन्छन् ।
अन्तर्रष्ट्रिय बोन्ड मार्केटबाट ऋण लिनु पनि कैयौं देशहरुलाई महंगो पर्ने गरेको छ किनकि उनीहरु लगानीकर्तालाई धेरै लाभको विश्वस दिलाउँछन् तर त्यो दिन सक्दैनन् । जब कुनै देशले आफ्नो ऋणदातालाई यी ऋणहरु समयमा तिर्न सक्दैन त्यसपछि उसलाई टाट पल्टिएको भनिन्छ । तर, कुनै देश टाट पल्टिएको घोषणा कुनै कम्पनी टाट पल्टिएको जस्तो हुँदैन ।
कुनै देशले यी ऋणहरु तिर्न नसकेपछि उसले आफ्नो ऋणको पुनर्गठन गर्छ र नीतिहरुमा परिवर्तन गर्छ । उसले आफ्नो बोन्डको वर्तमान मूल्यमा पनि परिवर्तन गर्छ जसबाट लगानीकर्तालाई आफ्नो पूरै रकम जाने डर नहोस् । जब सबै प्रयासहरुपछि पनि अथृव्यवस्था सम्हालिन सक्दैन र देश ऋण तिर्न असमर्थ रहन्छ भने उसले आफैंलाई टाट पल्टिएको घोषणा गर्छ । जस्तो कि २००१ मा अर्जेन्टिनाले गरेको थियो ।
अर्जेन्टिना त्यतिबेला भारी ऋणमा थियो र दंगाकारीहरु सडकमा घुमिरहेका थिए । अर्जेन्टिनाका आर्थिक समस्याहरु धेरै पहिले सुरु भइसकेका थिए । उसले आफ्नो मुद्रा पेसोलाई अमेरिकी डलरको बराबरी बनाइदियो । अमेरिकाको अर्थव्यवस्था बढ्दै गयो तर अर्जेन्टिनाले आफ्नो मुद्रा पेसोको मूल्य घटाएन र उसले नयाँ नोट छाप्दै गयो जसबाट लगानीहताृहरुमा डर बढ्यो र उनीहरु भागे ।
त्यसपछि अर्जेन्टिनाले आफ्नो ऋण नतिर्ने घोषणा गर्यो । यो घोषणापछि अर्जेन्टिनालाई नयाँ ऋण दिन ऋणदाताहरुले अस्वीकार गरे र उसको अर्थव्यवस्था ढल्यो । पाकिस्तानमाथि ऋण लगातार बढिरहेको छ तर रेटिङ एजेन्सीहरुले उसको अर्थव्यवस्थामा आशा पनि जगाएका छन् । फिच रेटिङ एजेन्सीका अनुसार कोरोना महामारीपछि पाकिस्तानको अर्थव्यवस्था फेरि सही ट्रयाकमा फर्किरहेको छ । |
सर्लाहीको मलंगवाबाट नक्कली नोटसहित दुई भारतीय पक्राउ सर्लाही। सर्लाही सदरमुकाम मलंगवामा १ लाख १५ हजार नक्कली नेपाली रुपैयाँसहित दुई जना भारतीय पक्राउ परेका छन् । मलंगवातर्फबाट भारतको सोनवर्षा जान थालेको बीआर ३० वाइ ४१३९ नम्बरको मोटरसाइकललाई भन्सार कार्यालय अगाडी चेकजाँच गर्ने क्रममा नक्कली नोटसहित दुई भारतीय पक्राउ परेको हो।
पक्राउ पर्नेमा भारतको बिहार राज्यको सीतामढी जिल्ला सोनवर्षा ग्रामपञ्चायत–६ चिलरीका ३७ वर्षीय आशिष भनिने सुरेन्द्र महतो र सीतामढी जिल्ला सोनवर्षा ग्रामपञ्चायत–१ लालबन्दीका ४८ वर्षीय प्रमोद कुमार रहका छन्।
चेकजाँच गर्ने क्रममा मोटरसाइकलको डिकी र सिटको बीचमा १ सय १५ वटा नेपाली १ हजारका नक्कली नोट बरामद भएको सशस्त्र प्रहरी उपरीक्षक भरत खनियाँले बताए । त्यसका साथै उनीहरूको साथबाट ४७ हजार ५ सय भारतीय रुपैयाँ पनि फेला परेका छन्। भारतीय रुपैयाँ भने सक्कली नै रहेको प्रहरी उपरीक्षक खनियाँले जानकारी दिए । नक्कली नोटसहित पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको छ । |
भोलि त्रिविको ४७औँ दीक्षान्त समारोह काठमाडौं।त्रिभुवन विश्वविद्यालयले भोलि सोमबार ४७औँ दीक्षान्त समारोह मनाउन लागेको छ । त्रिवि परीक्ष नियन्त्रण कार्यालय बल्खुमा आयोजना हुने समारोहमा प्रधानमन्त्री एवं कुलपति शेरबहादुर देउवाले अध्यक्षता गर्ने जनाइएको छ । प्रधानमन्त्री देउवा बिहान ११ बजे बल्खु पुग्ने कार्यक्रम छ । |
सिरहामा छुरा प्रहार गरेर एक युवकको हत्या सिराह। सिरहामा छुरा प्रहार गरेर एक युवकको हत्या भएको छ । शनिबार राति घर जाने क्रममा गोलबजार-६ डोहटियाका अन्दाजी २६ वर्षीय रामकुमार सदाय र १९ वर्षीय निकेश सदायमाथि अपरिचित युवाहरुको समूहले छुरा प्रहार गरेको हो ।
उक्त प्रहारबाट घाइते भएका रामकुमारको राति नै धनगढीमाईस्थित आरेक मेडिसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको र निकेशको उपचार भइरहेको प्रहरीले जनाएको छ । उनको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच, घटनाको विरोधमा स्थानीयले आइतबार बिहानैदेखि गोलबजारका विभिन्न ठाउँमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । उनीहरुले घटनामा संलग्नलाई पक्राउ गरी कडा कारबाही गर्नुपर्ने, घाइतेको निःशुल्क उपचार, पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग राखेका छन् । |
विद्युत्को खपत बढाऔँः घिसिङ काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले अहिलेको अवस्थामा विद्युत्को खपत बढाउने चुनौती रहेको बताएका छन्।
भक्तपुर ख्रिसमस समाजले ख्रिसमस र आंग्रजी नयाँ वर्ष २०२२ का अवसरमा आज आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सम्मान ग्रहण गर्दै उनले पहिलो कार्यकालमा लोडसेडिङ हटाउने चुनौती रहेकामा अहिले विद्युत्को खपत बढाउनुपर्ने बताएका हुन् ।
उनले विद्युतको खपत बढाउन आग्रहसमेत गरे । “कुनै बेला बिजुली कहिले आउँछ भन्ने अवस्था थियो, अहिले विद्युत् कसरी खपत गर्ने भन्ने चुनौती छ”, उनले भने, “आम नागरिकलाई विद्युत्को खपत बढाउन आग्रह गर्दछु ।”
आफू एक्लैको प्रयासले नभई समूहका सबैको सहकार्य र परिश्रमले नेपालमा लोडसेडिङको अन्त्य गर्न सम्भव भएको स्पष्ट पार्दै घिसिङले त्यसको जस सबैलाई जाने बताए । |
बैतडीको बडियाँ बजारका दुई पसलमा लाखौंको चोरी काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका-२ स्थित बडियाँ बजारमा चोरी भएको छ । शुक्रबार राति पसलको ताल्चा फोडेर दुई लाख रकम बढीको मालसमान र नगद चोरी भएको व्यापारीले बताएकाछन् ।
स्थानीय व्यापारी उमापति भट्टले सञ्चालन गरेको केदार भूमिराज मसानी ट्रेडर्सबाट एक लाख ५० हजार बराबरको मालसमान चोरी भएको छ । आफ्नो पसलबाट लुगा कपडा, जुत्ता चप्पल र घ्युका डब्बा चोरीएको व्यापारी भट्टले बताए ।
यसैगरी काशिसिंह विष्टले सञ्चालन गरेको कैलपाल खुद्रा पसलबाट नगद २५ हजार रकमसहित ८० हजार रकम बराबरको धनमाल चोरी भएको छ ।घटनाबारे आज बिहानै प्रहरीलाई जानकारी गराएपछि खोचलेक प्रहरीचौकीको टोली घटनास्थलमा गएर मुचुल्का तयार गरेको छ ।
यी पसलमा बेलाबेलामा चोरी हुने गरेको व्यापारीले बताएकाछन् । भट्टको पसलबाट यस पटकसमेत गरेर पाँच पटक चोरी भैसकेको र विष्टको पसलबाट गत मंसिर ८ गतेसमेत ६० हजार रकम बराबरको धनमाल चोरी भएको सम्बन्धीत पसलका व्यापारीले बताएकाछन् ।
हिजो चोरी भएका बेला पसलको ताल्चा फुटाउन प्रयोग भएको फलामको रड र चोरी गर्ने व्यक्तिका चप्पल घटनास्थलमै भेटिएका छन् । घटनाको विषयमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । |
सामुदायिक वनमा युवक मृत फेला काठमाडौं ।कैलालीको दक्षिण–पूर्वी जानकी गाउँपालिकास्थित अमरावती सामुदायिक वन क्षेत्रमा एक युवकलाई घाँटी रेटिएको अवस्थामा आज मृत फेला पारिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले सोही ठाउँका २५ वर्षीय अरुन दास मृत फेला परेको बताए । जोशीले भने, “युवकको घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेपछि घटनास्थल पुगेको प्रहरी टोलीले अनुसन्धान थालेको छ”, उनले भने । |
लागुऔषध र जिउँदो सालकसहित पक्राउ काठमाडौं ।काठमाडौँको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित लागुऔषध एक हजार ४४० ट्याब्लेट नाइट्राभेटसहित एक जनालाई प्रहरीले आज पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सर्लाहीको मोहनपुर गाउँपालिका–५ बस्ने २० वर्षीय गुड्डुकुमार राम रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सर्लाहीबाट काठमाडौँतर्फ आउँदै गरेको प्र ३–००१ ख १८०३ नम्बरको बसमा जाँच गर्ने क्रममा महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यसैबीच काठमाडौँ महानगरपालिका–३२ बस्ने दोलखाको कालिञ्चोक गाउँपालिका–६ का २६ वर्षीय उद्धव थामीलाई दुर्लभ वन्यजन्तुको सूचीमा रहेको जिउँदो सालकसहित प्रहरीले पक्राउ गरेको छ ।
केही व्यक्तिहरुले दुर्लभ सालक अवैध रुपमा बिक्री वितरण गर्नका लागि लुकाई राखेको भन्ने विशेष सूचनाका आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनको कोठाबाट करिब रु एक करोड १० लाखमा बिक्री गर्ने उद्देश्यले लिइआएको उक्त सालक फेला पारी उनलाई पक्राउ गरेको जनाइएको छ ।
उनलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौँमा पठाइएको महाशाखाले जनाएको छ । |
कार्यकारी निर्देशक घिसिङ सम्मानित काठमाडौँ । उज्यालो नेपालको अभियानमार्फत नेपालीलाई उज्यालो पुर्याई अतुलनीय योगदान गरेकामा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सम्मानित भएका छन् ।
लोडसेडिङ हटाएर नेपालीको घर घरमा खुसी ल्याउन महत्वपूर्ण योगदान गरेकाले कार्यकारी निर्देशक घिसिङलाई उत्कृष्ठ राष्ट्रसेवक अर्वाडबाट सम्मान गरिएको आयोजक संस्था क्यासनेप फाउण्डेशनले जनाएको छ । फाउण्डेशनका कार्यक्रम संयोजक राजन अधिकारीले नेपालमा पनि केही गर्न सकिन्छ र त्यसका लागि सकारात्मक पहल र प्रयत्न जरुरी रहन्छ भन्ने मानक स्थापित गरेकाले कार्यकारी निर्देशक घिसिङलाई सम्मान गरिएको जानकारी दिए ।
कार्यक्रममा गायिका आनी छोइङ, कलाकार पल शाह, हृदयरोग विशेषज्ञ कमल लम्साल, सांस्कृतिक संरक्षण अभियन्ता रविन्द्र पुरी, पत्रकार खेम बम र बाल सामाजिक अभियन्ता प्रेन्सा रेग्मीलाई सम्मान गरियो । राज्यमन्त्री उमेश श्रेष्ठले अवसरको खोजी गर्दै देशभित्रै केही गर्ने भावनाको विकास गर्न युवाले विशेष पहल गर्नुपर्ने बताए । नेपालमा अवसरै अवसर रहेको भन्दै उनले केही पनि काम पाइएन र केही पनि भएन भनेर विदेशिने प्रवृत्तिको अन्त्यका लागि राजनीतिमा नै सुधार गर्ने ध्येयका साथ आफू पनि सक्रिय राजनीतिक कर्ममा आएको बताए ।
उनले आफूले पनि भोजपुरमा एक हजार रोपनीका कागती खेती गरेको तथा अन्य कृषि कर्मलाई अगाडि बढाएको जानकारी दिँदै देशमा अवसर खोज्न र सीपयुक्त अध्ययनमा केन्द्रीत हुन आग्रह गरे । राज्यमन्त्री श्रेष्ठले एक जिल्ला एक उत्पादनको अवधारणाका साथ अगाडि बढेकामा क्यासनेप फाउण्डेशनलाई सफलताको शुभकामना दिए। |
लमजुङमा नगदसहित आठ जुवाडे पक्राउ काठमाडौं ।जिल्ला प्रहरी कार्यालय लमजुङले नगदसहित आठ जना जुवाडेलाई पक्राउ गरेको छ । प्रहरीले बेसीशहर नगरपालिका ७ भिमसेनस्थानस्थित सुरेश श्रेष्ठको घरमा शुक्रबार राति साढे ९ बजे हार जितको बाजी राखी जुवा खेल्दै गरेको अवस्थामा घरधनी श्रेष्ठसहित आठ जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी एवं इन्सपेक्टर जगदीश रेग्मीका अनुसार प्रहरीले उनीहरूको साथबाट नगद दुई लाख १९ हजार दुई सय ५० रुपैयाँसहित १६ थान कौडासमेत बरामद गरेको छ ।पक्राउ पर्नेमा बेसीशहर नगरपालिकाका चार जना, सुन्दरबाजर नगरपालिकाका एक जना, मस्र्याङ्दी गाउँपालिकाका एक जना, तनहुँका एक जना र काभ्रेका एक जना रहेका छन् ।
पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरूविरुद्ध मुलुकी अपराध संहिता जुवाअन्तर्गत मुद्दा चलाइने प्रहरीले जनाएको छ । |
घाँटी रेटेर युवकको हत्या काठमाडौं ।कैलालीको जानकी गाउँपालिकामा एक युवकको घाँटी रेटेर हत्या गरिएको छ ।
हत्या हुनेमा जानकी गाउँपालिका–९ का २५ वर्षीय अरुण दाश रहेका छन् । जानकी गाउँपालिका–९ स्थित अमरावती सामुदायिक वनमा घाँटी रेटेर हत्या गरिएको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए ।
हत्या कस्ले र किन गर्यो भन्ने जानकारी नभए पनि घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अनुसन्धानमा प्रहरीले तालिक प्राप्त कुकुरको पनि प्रयोग गर्ने जनाएको छ । |
भोलिदेखि १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई खोप काठमाडौँ ।सरकारले भोलिदेखि ५७ जिल्लाका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउँदैछ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मोडर्ना खोपको पहिलो मात्रा यही पुस ४ देखि १४ गतेसम्म विद्यार्थीलाई लगाउने भएको मन्त्रालयका प्रवक्ता डा सङ्गीता कौशल मिश्रले जानकारी दिए । उनका अनुसार प्रदेश नं १ को ताप्लेजुङ, सङ्खुवासभा, ओखलढुङ्गा, खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम र उदयपुर, प्रदेश नं २ को सिराहा, महोत्तरी, सर्लाही, रौतहट र बारा जिल्लास्थित विद्यालयका विद्यार्थीलाई खोप लगाइनेछ ।
यस्तै खोप लगाउनेमा वाग्मती प्रदेशको दोलखा, सिन्धुपाञ्चोक, रसुवा, धादिङ, नुवाकोट, रामेछाप र मकवानपुर, गण्डकी प्रदेशको गोरखा, मनाङ, मुस्ताङ, म्याग्दी, लमजुङ, तनहुँ, नवलपरासी पूर्व, स्याङ्जा र पर्वत, लुम्बनी प्रदेशको रुकुमपूर्व, रोल्पा, प्यूठान, गुल्मी, अर्घाखाँची, पाल्पा, नवलपरासी पश्चिम, कपिलवस्तु र बर्दिया रहेका छन् । त्यस्तै कर्णाली प्रदेशका डोल्पा, मुगु, हुम्ला, जुम्ला, कालीकोट, दैलेख, जाजरकोट, रुकुमपश्चिम र सल्यान तथा सुदूरपश्चिमका बाजुरा, बझाङ, दार्चुला, बैतडी, डोटी, अछाम र कञ्चनपुर जिल्लाका सो उमेर समूहका विद्यार्थीलाई खोप लगाउने भएका छन् । ती जिल्लाका विद्यार्थीलाई दोस्रो मात्रा भने माघ २ देखि १२ गतेसम्म सञ्चालन गर्नेछ ।
यस्तै मन्त्रालयले यसअघि १२ वर्षमाथिका दीर्घ रोगीका लागि फाइजर खोप सञ्चालन भएका १९ जिल्ला र सिन्धुली गरी २० जिल्लामा पनि फाइजर खोप अभियान सोही अवसरमा मन्त्रालयले सञ्चालन गर्दैछ । यस्तै मन्त्रालयले यही पुस १३ देखि २२ गतेसम्म काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, चितवन, सिन्धुली, डडेल्धुरा र सुर्खेतका बालबालिकालाई फाइजर खोपको पहिलो मात्रा सञ्चालन गर्दैछ । ती जिल्लामा दोस्रो मात्रा भने माघ ४ देखि १३ गतेसम्म सञ्चालन हुने मन्त्रालयले जनाएको छ । |
यौन दुव्र्यवहारका घटनामा वृद्धि काठमाडौं ।जुम्लामा बलात्कार तथा यौन दुव्र्यवहारका घटना क्रमशः बढ्दै गएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक जुम्लाले सार्वजनिक गरेको तथ्याङ्कमा यो वर्ष नौ वटा बलात्कार तथा यौन दुव्र्यवहारका घटना भएका छन् । अघिल्लो वर्ष बलात्कारका तीन र यौन दुव्र्यवहारका पाँच गरी आठ वटा घटना घटेका थिए । यी घटना नेपाल मानवअधिकार वर्ष पुस्तक–२०२१ मा उल्लेख गरिएका छन् ।
सन् २०२१ जनवरीदेखि डिसेम्बरसम्म बलात्कारका चार र यौन दुव्र्यवहारका पाँच गरी नौ वटा घटना घटेका छन् । ती घटनाका सात जना आरोपित पूर्पक्षका लागि कारागार चलान भएका छन् भने दुई बालक सुधारगृह र एक फरार रहेको इन्सेकको तथ्याङ्कमा उल्लेख छ । यसैगरी सो अवधिमा जातीय विभेदसम्वन्धी एक, बहुविवाहका दुई, यातानापछि मृत्युका एक, अपहरणका एक, हत्याका एक र आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी दुई गरी १७ घटना सङ्कलन गरिएका छन् । शिक्षा र खाद्य अधिकारसम्बन्धीका घटना पनि सङ्कलन गरिएको इन्सेक जुम्लाले जनाएको छ ।
मानवअधिकार वर्ष पुस्तकको वार्षिक पूर्वसमीक्षाका कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाइँले वर्ष पुस्तक प्रभावकारी हुने भएकाले बाढी पहिराले पारेको क्षतिलगायत विषयलाई समेत प्रथामिकता राख्न सुझाव दिए । बाढीले अन्नवालीमा परेको क्षतिका विषयमा धान बाली राहत वितरणका लागि मात्रै कार्यविधि बनेको छ । अरु अन्नवालीको विषयमा कार्यविधि नबनेकाले यसमा पनि समस्या देखिएको उनको भनाइ छ । यो विषयलाई थप प्रकावकारी बनाउनका लागि जिल्ला विपद् व्यवस्थापन समितिमा छलफल गरिने सहायक प्रजिअ चौलागाइँले बताए ।
राष्ट्रि मानवअधिकार आयोग कर्णाली प्रदेश शाखा जुम्लाका प्रमुख बुद्धनारायण सहनीले घटनाको पुष्टि हुने तथ्याङ्क थप बलियो बनाउन सुझाव दिदैं बढ्दो सडक दुर्घटनाका विषय पनि समेटन सकिने बताए। सडक र सवारी दुर्घटनाका कारण धेरै धनजनको क्षति भएको हुन्छ । यो राज्यसँग पनि जोडिएको विषय भएकाले वर्ष पुस्तकमा समेट्दा उपयुक्त हुने उनले बताए । |
केटीको बिहे गर्ने न्यूनतम उमेर १८ वर्षबाट बढाएर २१ वर्ष बनाइएपछि चर्को विवाद काठमाडौं। केटीको विवाह गर्ने न्यूनतम उमेर १८ वर्षबाट बढाएर २१ वर्ष बनाउने प्रस्तावलाई भारतको केन्द्रीय मन्त्रिमण्डलले मन्जुरी दिएपछि एआइएमआइएम सांसद असदुद्दीन ओवैसी समेत कैयौं नेताहरुले विरोध गरेका छन् । लोकसभा सांसद ओवैसीले ट्वीट गरेर भनेका छन् ‘१८ वर्षको उमेरमा महिला पुरुष व्यापार सुरु गर्न सक्छन्, सम्झौतामा हस्ताक्षर गर्न सक्छन्, प्रधानमन्त्री छान्न सक्छन् तर बिहे गर्न सक्दैनन् ।’
अर्कोतिर इण्डियन मुस्लिम लिग (आइयुएमएल)ले शुक्रबार संसदमा केटीहरुको बिहेको उमेर १८ वर्षबाट २१ वर्ष बनाउने सरकारको प्रस्तावको विरोध गर्दै स्थगन प्रस्तावको नोटिस दिएको थियो । आइयुएमएलले यसलाई मुस्लिम व्यक्तिगत कानुनको अतिक्रमण भनेको छ । आइयुएमएलका नेता तथा राज्यसभा सांसद अब्दुल वहाबले लेखेका छन् ‘केटीहरुको बिहेको उमेर १८ बाट बढाएर २१ वर्ष बनाउने प्रस्ताव, जसलाई क्याबिनेटले मन्जुरी दिएको छ, त्यसको उद्देश्य मुस्लिम व्यक्तिगत कानुनको अतिक्रमण गर्नु पनि हो ।’
केरलका कैयौं मुस्लिम संगठनले पनि उमेर बढाउने प्रस्तावको विरोध गरेका छन् । मुस्लिम लिग नेता इटी मोहम्मद बशीरले शुक्रबार लोकसभामा केटीहरुको बिहेको उमेर बढाउने प्रस्तावविरुद्ध स्थगन प्रस्तावको नोटिस दिएका थिए । उनले यो प्रस्ताव मुस्लिम व्यक्तिगत कानुन विरुद्ध भएको बताउँदै युनिफर्म सिभिल कोडतर्फ सरकारले एक कदम बढाएको आरोप लगाएका थिए । उनले यी मुद्दा आफूहरुको आस्थासँग जोडिएको भन्दै यसको विरोध गर्ने बताएका थिए ।
ओवैसीले कैयौं ट्वीट गरेर केन्द्रीय मन्त्रिमण्डलको यो फैसलाप्रति असन्तुष्टि जनाएका छन् । उनका साथै समाजवादी पार्टी, इण्डियन युनियन मुस्लिम लिग, सीपीएम र कांग्रेसका नेताहरुले पनि यो कानुनप्रति असन्तुष्टि जनाएका छन् । कांग्रेसले केन्द्रीय मन्त्रिमण्डलको यो निर्णयमा आफ्नो राय व्यक्त गरेको छैन तर पार्टी प्रवक्ता शक्ति सिंह गोहिलले यसबारे भनेका छन् ‘यो मोदी सरकारको एक चाल हो ताकि किसानहरुको मुद्दा र केन्द्रीय मन्त्री अजय मिश्रा टेनीलाई हटाउने विपक्षीको मागबाट ध्यान हटाउन सकियोस् ।
समाजवादी सांसद शफीकुर्रहमान बर्कले भनेका छन् ‘भारत एक गरिब देश हो र हर कोही आफ्नी छोरीहरुको छिटो बिहे गरिदिन चाहन्छन् । मैले संसदमा यो कानुनको समर्थन गर्ने छैन ।’ सीपीएम नेता बृंदा करातले सरकारको प्रस्तावले महिला सशक्तिकरणमा सहयोग नगर्ने बरु यसले वयस्कहरुको व्यक्तिगत रुचीलाई अपराधीकरण गर्ने बताइन् । उनले लैंगिक समानता सुनिश्चित गर्ने नै हो भने पुरुषको विवाहको उमेर पनि २१ वर्षबाट घटाएर १८ वर्ष बनाउनुपर्ने बताइन् । |
चक्कु प्रहार गर्ने व्यक्ति पक्राउ काठमाडौँ ।काठमाडौँ महानगरपालिका–१३ छाउनीमा ट्याक्सी चालकमाथि चक्कु प्रहार गर्ने एक व्यक्तिलाई आज साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको कलैया बस्ने १९ वर्षीय विकास सराब रहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । उनको चक्कु प्रहारबाट बा १ ज १४४६ नम्बरका ट्याक्सी चालक काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपलिका–२ घर भई डल्लु बस्ने ३८ वर्षीय कृष्णबहादुर लामा घाइते भएका छन् ।
सोही ट्याक्सीमा सवार सराबले के कारणले घटना घटाएका हुन् भन्ने खुलिनसकेको प्रहरीले जनाएको छ । उक्त सूचना प्राप्त हुनासाथ वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले उनलाई तत्कालै नियन्त्रणमा लिएको जनाइएको छ । घाइतेलाई मनमोहन मेमोरियल अस्पताल स्वयम्भूमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि ट्रमा सेन्टरमा ल्याइएको छ । उनलाई घटनामा प्रयोग भएको चक्कुसहित नियन्त्रणमा लिई प्रहरी वृत्त स्वयम्भूबाट थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए । |
मर्यादित वैदेशिक रोजगारीमा जिफन्टको जोड काठमाडौं । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)ले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन सरकारसँग अनुरोध गरेको छ । अन्तरराष्ट्रिय आप्रवासी श्रमिक दिवस २०२१ को सन्दर्भ पारेर आज आयोजित कार्यक्रममा जिफन्ट अध्यक्ष विनोद श्रेष्ठले वैदेशिक रोजगारका क्षेत्रमा देखिएको वेथिति अन्त्यका लागि प्रभावकारी कदम चाल्न आग्रह गरे।
वैदेशिक रोजगारीमा रहेका अधिकांश श्रमिकको अवस्था दयनीय रहेको, श्रमिकले तोकिएको सेवासुविधा नपाएको, कार्यस्थल परिवर्तनको अधिकारलाई प्रत्याभूत नगराइएको उल्लेख गर्दै उनले वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन विद्यमान ऐन कानूनको प्रभावकारी कार्यान्वयन गर्न सुझाव दिए । उनले वैदेशिक रोजगारीमा हुने ठगी रोक्नुपर्ने, प्रतिबन्धित कार्य गर्ने म्यानपावर कम्पनीको अनुगमन गर्नुपर्ने तथा वैदेशिक रोजगारमा रहेका श्रमिकका हकहितमा ध्यान दिन सरकारसँग आग्रह गरे ।
सीपयुक्त जनशक्तिमात्र वैदेशिक रोजगारीमा पठाउनुपर्नेमा जोड दिँदै उनले विदेशबाट फर्केका श्रमिकको सीप र पूँजीको प्रयोग गरी उनीहरुलाई स्वदेशमै उद्यमशील बनाउनुपर्ने बताए । अझै पनि वैदेशिक रोजगारीमा जाने अधिकांश श्रमिक अदक्ष रहेको छन् । सीप तथा तालिम नलिइ वैदेशिक रोजगारीमा जाँदा श्रमिकले तोकिएअनुसारको काम र पारिश्रमिक नपाउने, न्यून पारिश्रमिकमा काम गर्नुपर्ने बाध्यता खेप्दै आएका छन् ।
आर्थिक वर्ष २०७७÷०७८ मा एक लाख ६६ हजार ६९८ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएको भए पनि ८० हजार ३८२ जनाले अदक्ष श्रमिकका रुपमा काम गर्न स्वीकृति लिएको जिफन्टले जनाएको छ । |
टिपरको ठक्करबाट एकै परिवारका तीनको मृत्यु काठमाडौं। सिरहाको लहान–ठाडी सडकखण्डअन्तर्गत लहान नगरपालिका–३ स्थित सडकमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् ।
स१क २६१ नम्बरको टिपरले प्रदेश २–०१–००२ प २६८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार सप्तरीको बलान विहुल गाउँपालिका–२ दिघियाका एकै परिवारका तीनै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा ६० वर्षीय मोतीलाल यादव, उनका भतिजा ३० वर्षीय रामकुमार यादव र ८ वर्षीय नाति अभिषेक यादव रहेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक डा तपन दाहालले जानकारी दिए ।
सोही दुर्घटनामा एक जना घाइते भएको प्रहरीले जनाएको छ । ठक्कर दिने टिपर र चालक नियन्त्रणमा लिई दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक दाहालले जानकारी दिए । |
खाद्य संस्थान भन्छः ‘धान किन्छौँ तर स्तरीय मात्रै’ काठमाडौं। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरले सरकारले तोकेको मापदण्डका आधारमा स्तरीय धान मात्रै खरिद गरिने जनाएको छ ।
कैलाली/कञ्चनपुरमा किसानले धान बिक्री भई नरहेको दुखेसो पोखिरहेका बेला कम्पनीले सरकारले तोकेको मापदण्डका आधारमा स्तरीय धान खरिद गरिने जनाएको हो । गत कात्तिक पहिलो साता कञ्चनपुरमा आएको बमौसमी वर्षाका कारण ६९ हजार २७३ मेट्रिकटन धान क्षति भएको थियो । यहाँ छ हजार क्विन्टल धान खरिदको कोटा पाएको कम्पनीले मापदण्डका आधारमा एक सातादेखि धान खरिद गरिरहेको सो कार्यालयका प्रमुख प्रचण्ड उपाध्यायले जानकारी दिए ।
“हामीले मापदण्डमा रहेर राम्रो धान खरिद गर्ने हो”, उनले भने, “किसान राम्रोदेखि भिजेको धानसमेत ल्याउँदा छान्नु परेको छ ।” उनले प्रतिक्विन्टल रु दुई हजार ७५२ धान खरिद गरिरहेको जानकारी दिए । यता किसानले धान बिक्रीमा समस्या भइरहेको गुनासो गरे । यहाँको भीमदत्त नगरपालिका–१३ का रामबहादुर जोशीले धान बिक्री गर्दा समस्या हुनुका साथै लागत अनुरुपको मूल्यसमेत नपाइरहेको बताए ।
कृषि ज्ञानकेन्द्र कञ्चनपुरका प्रमुख डा डिलबहादुर विष्टले यसपटक एक लाख ९३ हजार ९८४ मेट्रिकटन धान यहाँ उत्पादन भएको जानकारी दिए । “उत्पादन भएकामध्ये ६९ हजार २७३ मेट्रिकटन क्षति भयो”, उनले भने, “कूल ४८ हजार ४९३ हेक्टर क्षेत्रफलमा धानखेती गरिएकामध्ये करिब ३५ प्रतिशत क्षति हुन पुग्यो ।” धानखेती समेट्ने बेला आएको वर्षात्ले खेतमै धान कुहिनुका साथै बाढीलेसमेत बगाएर लगेको थियो । |
जापानको एक भवनमा आगलागी, २७ जनाको मृत्यु भएको आशंका टोक्यो : जापानको ओसाका सहरमा रहेको एउटा व्यापारिक भवनमा आगलागी भएको छ। उक्त आगलागीमा परि कम्तीमा २७ जनाको मृत्यु भएको आशंका गरिएको छ। साथै, आगलागीबाट २८ जना घाइते भएका छन् ।
उद्दार कार्य जारी रहेकाले मृतकको संख्या बढन सक्ने माइनीची सिन्बुनमा समाचार छ। ओशाकास्थित ८ तले भवनमा शुक्रबार आगलागी भएको हो ।
भवनको चौथो तल्लामा रहेको मानसिक मेडिकल क्लिनिकबाट आगो लागेको बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जापान प्रहरीलाई उदृत गर्दै समाचार छापिएको छ । |
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु काठमाडौँ । पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको मिथिला नगरपालिका–१० लालगढमा आज साँझ यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ६ ख २५५९ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको बा ४९ प ६८८९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक उदयपुरको कटारी नगरपालिका–७ निवासी २७ वर्षीय विकास विश्वकर्माको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने बस र चालक बाँकेको कोहलपुर नगरपालिका १२ निवासी सिताराम पाण्डेलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिए । |
नागरिक लगानी कोष र अन्नपुर्ण न्यूरो अस्पताल सम्झौता काठमाडौँ । नागरिक लगानी कोष र अन्नपुर्ण न्युरोलोजिकल इन्स्टिच्युट एण्ड एलिड साइन्सबीच कोषका सहभागीलाई छुट दिने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र अन्नपुर्ण न्यूरो अस्पतालका डेपुटी मेडिकल डाइरेक्टर डा। शरदहरि गजुरेलले हस्ताक्षर गरे । सो अवसरमा कोषका नायव कार्यकारी निर्देशक डा.इन्द्रकुमार कट्टेल र अस्पतालका अपरेशन मेनेजर रोजिन बज्राचार्यको उपस्थिती रहेको थियो ।
सम्झौता पश्चात् कोषका सहभागी र कर्मचारीले न्यूरो अस्पतालबाट उपचार सेवा लिँदा छुट पाउनेछन । न्युरो अस्पतालले हेल्थ प्याकेजमा १५, ल्यावमा १०, रेडीयोलोजीमा १०, एम्वुलेन्स सेवामा १०, बेड शुल्कमा १० र सर्जरीमा १० प्रतिशत छुट दिने भएको छ । नशा रोग सम्बन्धमा अस्पतालको आफ्नो छुट्टै पहिचान रहेकोले कोषका सहभागी करिव सात लाख र कोषका कर्मचारी यसबाट लाभान्वित हुने अपेक्षा गरिएको छ । |
सबै स्थानीय तहमा इन्टरनेट सेवा उपलब्ध गराउन सम्झौता काठमाडौं । नेपाल टेलिकमले देशका सबै स्थानीय तह र अन्तर्गतका वडा कार्यालय, स्वास्थ्य कार्यालय, सामुदायिक विद्यालय र स्थानीय तहमा रहेका अन्य सरकारी कार्यालयमा टेलिफोन तथा ब्रोडब्याण्ड इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ ।
त्यसका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकातर्फबाट सहसचिव डा गोविन्दकृष्ण खनाल र टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीबीच आज सम्झौता भएको छ । मन्त्रालयले ती कार्यालयमा टेलिफोन तथा ब्रोडब्याण्ड सेवा उपलब्ध गराउने सम्बन्धमा माग सङ्कलन तथा कार्यक्रम कार्यान्वयनको लागि सम्बन्धित स्थानीय तह र नेपाल टेलिकमसँग आवश्यक सहजीकरण तथा समन्वय गरिने प्रवक्ता राजेश जोशीले जानकारी दिए ।
त्यसैगरी नेपाल दूरसञ्चार प्राधिकरणमा रहेको ग्रामीण दूरसञ्चार कोष प्रयोग गरी नेपाल टेलिकममार्फत सञ्चालित परियोजना कार्यान्वयनमा मन्त्रालयले नेपाल टेलिकम र स्थानीय तहलाई आवश्यक समन्वय र सहजीकरण गर्नेछ । साथै मन्त्रालयले सेवा विस्तारको लागि स्थानीय तहमार्फत आवश्यक पर्ने ‘राईट अफ ओए’ उपलब्ध गराउन सहजीकरण गरिदिने छ ।
सम्झौताअनुसार नेपाल टेलिकमले सबै स्थानीय तह र अन्तर्गतका वडा कार्यालय, स्वास्थ्य कार्यालय, सामुदायिक विद्यालय र अन्य सरकारी कार्यालयमा टेलिफोन तथा ब्रोडब्याण्ड इन्टरनेट सेवा उपलब्ध गराउन मन्त्रालयको समन्वयमा योजना तर्जुमा तथा कार्यान्वयन गरिनेछ । स्थानीय तहको वेबसाइट तथा अनलाइन सेवाको लागि प्रयोग हुने वेब बेस्ड एप्लिकेसनको लागि निःशुल्क इन्टरनेट उपलब्ध गराउनेछ ।
त्यसका लागि कम्पनीले विभिन्न प्याकेजको व्यवस्था गर्नेछ । ग्रामीण सूचना केन्द्रको स्थापना, हार्डवेयर तथा सफ्टवेयरको व्यवस्था र डिजिटल नेपालको अभियानलाई संस्थागत गर्न र विभिन्न सेवा विस्तारको लागि पूर्वाधार विकास एवम् विस्तार गर्न आवश्यक सहकार्य गरिने निर्देशक जोशीको भनाइ छ । त्यसैगरी हाल भीस्याटमार्फत भ्वाइस सेवा मात्र उपलब्ध भइरहेका अति दुर्गम स्थानमा दूरसञ्चार सेवा प्रदायकसमेतको सहकार्यमा मोबाइल ब्रोडब्याण्ड सर्भिस लगायतका सेवा सञ्चालन गर्ने गराउनेछ । |
सरकारी भवन शहरी विकास मन्त्रालयले नै बनाउन निर्देशन काठमाडौं । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले नेपाल सरकारका भवन तथा कार्यालय शहरी विकास मन्त्रायलले नै मापदण्डानुसार र गुणस्तरीय बनाउन निर्देशन दिएको छ ।
समितिको आज बसेको बैठकले सरकारी भवन मन्त्रालयले नै निर्माण गर्ने नीतिगत व्यवस्था भएकामा हाल सम्बद्ध सरकारी निकायले बजेट निकासा गरी आफ्नो भवन आफैँ निर्माण गरेको भन्दै यो जिम्मा मन्त्रालयलाई दिन सरकारलाई निर्देश गरेको हो । सम्बन्धित निकाय आफैँले भवन निर्माण गर्दा वातावरणीयलगायतमा असर पुर्याएको र मापदण्डबमोजिम नभएको देखिएकाले आगामी दिनमा यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्न निर्देशन दिइएको हो ।
समितिले विभिन्न शिर्षकमा छरिएर रहेका र बजेट अभावका कारण अलपत्र परेका आयोजना पहिचान गरी व्यवस्थित शहरीकरणको अवधारणाअनुरूप अघि बढाउन पनि निर्देशन दिएको छ । समितिले सरकारले अघि सारेको नयाँ शहर, मेघा सिटी, स्मार्ट, मेट्रो सिटी, एकीकृत बस्तीबारे कार्ययोजना विस्तृत छलफल गर्न मन्त्रालयतर्फबाट आवश्यक कार्यशाला आयोजना गर्न भनिएको छ । समितिले विगतका निर्णयका आधारमा विधेयक अघि बढाउन पनि निर्देशन दिएको छ ।
शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले उपभोक्ता समितिका नाममा राजनीतिक दलले कार्यकर्तामार्फत भ्रष्टाचार गरिरहेको बताए । अधिकांश समितिले पैसा लगेर ठेक्कामार्फत काम गरिरहेको उनले बताए । कतिपय स्थानमा विपन्न नागरिक प्लाष्टिकको छानामुनि बस्न बाध्य भएपनि ‘भ्यु टावर’लगायतका संरचनामा बजेट छुट्ट्याइएको उनको भनाइ छ । नागरिकस्तरबाट आवश्यकताका आधारमा नभएर पहुँचका आधारमा योजना छनौट भइरहेको उनले बताए। मन्त्रालयले सरकारी भवन निर्माण, आवास, सडक, सिँचाइ, ढललगायतका संरचना निर्माण गरिरहेको भएपनि जनशक्ति पर्याप्त नभएको उनले बताए । उनले भने, “स्थानीय पूर्वाधार विभागमा जनशक्ति भएकाले त्यो विभागको जनशक्ति जिम्मेवारीसहित हामीसँग ल्याउनुपर्छ ।”
|
मनकामनाको केबलकार चार दिनका लागि बन्द काठमाडौँ। मनकामनाको केबलकार चार दिन बन्द हुने भएको छ । गेयर बक्स र टावरको मर्मत गर्नुपर्ने भएकाले पुष ४ गतेदेखि ७ गतेसम्म केबलकार बन्द गर्नुपर्ने कम्पनीले जनाएको छ ।
केबलकारको स्तरोन्नतिका लागि अष्ट्रियाका प्राविधिकले अनुगमन गर्नेछन् । केबलकार बन्द रहे पनि स्टेशन वरिपरि रहेको रेष्टुरेण्ट सञ्चालन रहने पनि कम्पनीले जनाएको छ । आगामी बिहीबार ( ८) बाट पुनः केबलकार सञ्चालन हुने भएको छ ।
|
नेपाल विद्युत प्राधिकरणको सबै आय संकलन काउन्टरहरू पाँच दिनको लागि बन्द काठमाडौँ। नेपाल विद्युत प्राधिकरणको सबै आय संकलन काउन्टरहरू पाँच दिनको लागि बन्द हुने भएको छ । प्राधिकरणले एक सूचना जारी गर्दै बिलिङ सिस्टम अद्यावधिक गर्नुपर्ने भएकाले आज पुस १ गतेदेखि आगामी पुस ५ गतेसम्मका लागि सबै आय संकलन काउन्टरहरू बन्द गरिएको जनाएको छ ।
विद्युत प्राधिकरणका उपभोक्ताको २०७८ मंसिर महिनाको खपत अर्थात् पुस १ गतेदेखिको रिडिङमा लागू हुने गरी नयाँ विद्युत महसुल निर्धारण भएको र परिवर्तित महसुल दर प्राधिकरणको एम–पावर विलिङ सिस्टममा पुस महिनादेखि एकसाथ लागू हुने गरी अद्यावधिक गर्नुपर्ने भएकाले आय संकलन काउन्टरहरु बन्द गर्नु परेको सूचनामा उल्लेख छ । |
तलब र अन्य सेवा सुविधा नदिएको भन्दै शिक्षकहरूले गरे विद्यालयमा तालाबन्दी बझाङ। बझाङ छबिसपाथिभेरा गाउँपालिका–७ मा रहेको मजखोरी माविमा कार्यरत निजी स्रोतका शिक्षकहरूले बुधबार विद्यालयको प्रशासन कक्षमा तालाबन्दी गरेका छन् । शिक्षकले तलब नपाएपछि विद्यालय प्रशासन कक्षमा तालाबन्दी गरेका हुन्।
१८ महिनासम्म पनि तलब र अन्य सेवा सुविधा नदिएको भन्दै शिक्षकहरूले विद्यालयमा तालाबन्दी गर्न बाध्य भएकाे बताए । साथै, विद्यालयले खर्चमात्र देखाएर शिक्षकहरूको तलब राेकेकाे एक शिक्षकले गुनासाे गरे ।
विद्यालयमा काम गर्ने निजी स्रोतका शिक्षकहरूले काम गरेको सेवा सुविधा यति लामो समयसम्म रोकेर शिक्षकहरूको पीडा विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकले नबुझ्दासम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।
यता विद्यालयका प्रधानाध्यापक जनक बोहराले भने विद्यालयको पुरानो लगानी असुल हुन नसक्दा शिक्षकहरूलाई तलब भत्ता खुवाउन नसकिएको बताए । साथै, उनले स्थानीय सरकारले पनि कुनै चासो नदिएको र अन्य निकायबाट पनि सहयोग नभएपछि तलब खुवाउन नसकिएको बताए ।
केही दिनभित्र नै निजी स्रोतका शिक्षकलाई तलबभत्ता दिने उनले बताए । |
धौलीगाड खानेपानी आयोजनाको बहुवर्षीय ठेक्का सहमति जुम्ला । कर्णाली प्रदेशकै गौरवको आयोजना धौलीगाड बृहत् खानी पानी आयोजनाको बहुवर्षीय ठेक्का सहमति प्रदान गर्ने निर्णय भएको छ । समुद्री सतहदेखि करिब चार हजार मिटर उचाइमा रहेको धौलीगाड बृहत् खानी पानी आयोजनाको बहुवर्षीय ठेक्का सहमति प्रदान गर्ने निर्णय भएको हो ।
नेपाल सरकार अर्थ मन्त्रालयको सोमबार भएको मन्त्री स्तरीय निर्णयबाट ‘धौलीगाड बृहत् खानेपानी आयोजना’लाई बहुवर्षीय ठेक्काका लागि सहमति प्रदान गरिएको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयको जलवायु अनुकूलित बृहत् खानेपानी आयोजनाअन्तर्गत सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जुम्लाबाट उक्त आयोजना सञ्चालन हुने छ ।
अर्थ मन्त्रालयकी शाखा अधिकृत इन्दिरा दाहालले आयोजनाको कूल लागत अनुमान एक अर्ब २६ करोड आठ लाख ४९० रहेको बताइन् । सो लागत रहेको धौलीगाड बृहत् खानेपानी आयोजनाका बहुवर्षीय ठेक्का सम्बन्धी मापदण्ड, २०७७ बमोजिम सहमतिका लागि खानेपानी मन्त्रालयबाट लेखिएको विषय पेस हुँदा राष्ट्रिय योजना आयोगको निर्णयअनुसार प्रक्रिया पुरा गरी खरिद प्रक्रिया अघि बढाउन उक्त मन्त्रालयलाई सहमति प्रदान गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।
त्यस्तै तत्कालीन संविधानसभा सदस्य तथा निवर्तमान कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले पहल थालेको धौलीगाड बृहत् खानी पानी आयोजनाको एक दशकपछि निर्माण कार्य हुने पक्का भएको हो ।
भण्डारीले सामाजिक सञ्जालमा आफ्नो भोगाई व्यक्त गर्दै भनेका छन्, ‘दुर्गममा मेगा प्रोजेक्टहरू जन्माउन र हुर्काउन सहज छैन । उनले, कष्टसाध्य प्रयत्नबाट जन्मिएर पटक पटक मर्दै बाँच्दै गरेको हिमाली क्षेत्रको सबै भन्दा ठूलो परियोजना धौलीगाड बृहत् खानेपानी परियोजनालाई १ अरब २६ करोडको बहुवर्षीय ठेक्का सहमति प्रदान गरेर पुनर्जीवन दिने नेकपा (माओवादी केन्द्र) का लोकप्रिय तथा प्रभावशाली नेता एवं नेपाल सरकारका अर्थमन्त्री मा जनार्दन शर्माप्रति हार्दिक आभार व्यक्त गर्छु ।’ |
कांग्रेस महामन्त्रीको मतगणना बिहीबार बिहान ८ बजेदेखि काठमाडौं । नेपाली कांग्रेसको जारी महाधिवेशनअन्तर्गत महामन्त्रीको मतगणना बिहीबार बिहान ८ बजेदेखि सुरु गरिने भएको छ ।
कांग्रेस निर्वाचन समितिका अनुसार बुधबार साँझबाट उपसभापतिको मतगणना थालिएकोमा बिहीबार बिहानबाट महामन्त्रीको मतगणना सुरु गरिने छ ।
कांग्रेसको नयाँ नेतृत्वका लागि सोमबार राति सम्पन्न निर्वाचनमा दुई महामन्त्री पदमा ६ नेता प्रतिस्पर्धामा छन् । विश्वप्रकाश शर्मा, गगनकुमार थापा, प्रदीप पौडेल, डाक्टर प्रकाशशरण महत, मीनेन्द्र रिजाल र राजाराम कार्की महामन्त्रीको प्रतिस्पर्धामा छन्।
उपसभापतिको मतगणना भने कांग्रेस केन्द्रीय कार्यालयमा जारी छ । तीन ठाउँमा मतगणना भइरहेकाले राति ढीलामा १ बजेसम्ममा नतिजा आइसक्ने कांग्रेस निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिएका छन् ।
|
सभापतिज्यू ! अब गुटको होइन कांग्रेसको सभापति बन्नुहोस्: गगन थापा काठमाडौं । नेपाली कांग्रेसका नेता एवं महामन्त्रीका उम्मेदवार गगनकुमार थापाले पार्टी सभापति शेरबहादुर देउवालाई अबको ‘इनिङ’मा गुटको नभइ सिंगो पार्टीको सभापति बन्न सुझाब दिएका छन् । १४औं महाधिवेशन समापनपछि काठमाडौंमा बुधबार आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
कार्यक्रममा उनले अघिल्लो पटक सभापति हुँदा जुन व्यवहार शेरबहादुर देउवाले देखाएका थिए त्यो यसपटक सुधार हुने विश्वास लिएको पनि बताए । उनले भने, ‘अघिल्लो पटक जस्तो वालुवाटार, बुढानिलकण्ठमा गुटको बैठक अब पक्कै हुँदैन होला । उहाँ हामीसँग बैठक बस्नुअघि गुटको बैठकबाट निस्कनु हुन्थ्यो ।’ अब त्यसो नभएर हामी सबैको साथ पाउने गरी उहाँले काम गर्ने उनले बताए । उनले भने, ‘किनकी पार्टी सभापतिको गुट हुनु हुँदैन ।’ उनले कांग्रेसलाई २०६० सालको जस्तो सर्वस्वीकार्य पार्टी बनाउन अनुरोध पनि गरेका छन् ।
यस्तै, उनले आउँदै गरेको स्थानीय तह, प्रदेश र संघको निर्वाचनमा कांग्रेसलाई अझै बलियो बनाउने गरी लैजान पनि सुझाब दिए । उनले भने, ‘अहिले हामी कम्युष्टिहरू नमिले मात्रै जित्ने अवस्थामा छौं । अबको निर्वाचनमा कांग्रेस अरु पार्टी नमिले मात्रै जित्ने अवस्था आउनै दिनु हुँदैन । यसका लागि तत्काल १०–१५ लाख मतदाता थप्ने अभियानमा हामी लाग्नु पर्छ ।’ |
रासायनिक मलको माग गर्दै सप्तरीका किसानले गरे जिल्ला प्रशासन कार्यालय घेराउ सप्तरी – सप्तरीका किसानले रासायनिक मल माग गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शनसहित घेराउ गरेका छन्। रासायनिक मलको माग गरेर केही दिनदेखि आन्दोलन गर्दै आएका किसानले बुधवार जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शनसहित घेराउ गरेका हुन्।
गहुँ छर्ने बेलामा रासायनिक मल नपाएको किसानहरूको गुनासो रहेको छ । गहुँ बाली लगाउने बेला विशेष गरी डीएपी मलको माग बढी हुन्छ ।
कृषि सामग्री कार्यालय राजविराजका निमित्त शाखा प्रबन्धक सोनेलाल मुर्मुले पालिकाको सिफारिसमा मल दिँदै आएको तर सोझै किसानलाई मल वितरण गर्न नसकिने बताए ।
कृषि ज्ञान केन्द्र सप्तरीका अनुसार नाै लाख नाै हजार पाँच सय ९९ हेक्टर क्षेत्रफल रहेको सप्तरीमा खेतीयोग्य जग्गा ८१ हजार ६ सय ६८ हेक्टर अर्थात् ६४ प्रतिशत छ । |
हङकङको सपिङ सेन्टरमा भीषण आगलागी हङकङ। हङकङको सपिङ सेन्टरमा भीषण आगलागी भएको छ। आगलागी हुँदा ३ सयभन्दा बढि मानिस सपिङ सेन्टर भित्रै फसेका छन् ।
हङकङको वल्र्ड ट्रेड सेन्टरको भवनमा बुधवार भीषण आगलागी हुँदा ३ सयभन्दा बढि मानिसहरु फसेका हुन् । आगलागी ३८ तले भवनमा मध्यान्ह १२:२७ बजे भएको हो ।
विद्युतीय तार सर्ट हुँदा आगलागी भएको हुनसक्ने साउथ चाइना मर्निङ पोष्टले जनाएको छ ।
सो भवनमा फसेकाहरुको उद्धार कार्य जारी रहेको र हालसम्म करिब १५० को उद्धार गरिएको जनाइएको छ । आगलागीबाट चारजना घाइते भएको बताइएको छ । घटनाको विस्तृत विवरण भने आउन बाँकी छ । |
बसको ठक्करबाट ६० वर्षीया वृद्धाको मृत्यु जनकपुर। जनकपुरधामस्थित नयाँ बसपार्कमा बसले ठक्कर दिँदा ६० वर्षीया वृद्धाको मृत्यु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका अनुसार बुधबार बिहान महोत्तरीको जलेश्वरबाट जनकपुरधाम आइरहेको ना ३ ख २६१० नम्बरको बसले ठक्कर दिँदा ६० वर्षीया वृद्धाको मृत्यु भएको हो ।
जलेश्वरबाट आएको सो बस जनकपुरधामस्थित बसपार्कमा छिर्न लागेका बेला सोही बसबाट ओर्लिएकी वृद्धा अचानक बसको अगाडि आएकोले चालकले नियन्त्रणमा राख्न नसक्दा दुर्घटना भएको ट्राफिक प्रहरी प्रमुख नवराज न्यौपानेले जानकारी दिए ।
मृतक वृद्धाको नाम र ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ । बस चालक जनकपुरधाम उपमहानगरपालिका–२३ बिन्धी बस्ने ३३ वर्षीय मो. फिरोज नदाफलाई नियन्त्रणमा लिइएको छ । |
देउवालाई दिए नेपालले बधाई काठमाडौं । कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवालाई नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बधाई दिएका छन् । अध्यक्ष नेपालले सामाजिक सञ्जाल फेसबुक मार्फत बधाई दिएका हुन् ।
उनले फेसबुकमा लेखेका छन्,’दोस्रो कार्यकालका लागि नेपाली कांग्रेसको सभापतिमा निर्वाचित हुनुभएकोमा सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाजीलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।’
प्रधानमन्त्रीसमेत रहेका देउवा कांग्रेसको १४औँ महाधिवेशनबाट दोस्रो पटक सभापतिमा निर्वाचित भएका हुन् । |
टिप्परको ठक्करबाट युवराजको मृत्यु हेटौंडा । हेटौंडामा टिप्परको ठक्करबाट १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनको रत्ननगरका ४० वर्षीय युवराज आचार्य रहेको प्रहरीले जनाएको छ ।
आज बिहान हेटौंडाबाट मनहरीतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ख १८४९ नम्बरको टिप्परले चितवनबाट हेटौंडातर्फ आउँदै गरेको ना ४९ प ८२५२ नम्बरको मोटरसाइकलमा सवार आचार्यलाई ठक्कर दिएको हो । |
थाइल्याण्डमा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ जनाको मृत्यु एजेन्सी। थाइल्याण्डमा एक सैन्य हेलिकप्टर दुर्घटनामा परेको छ। मंगलबार सैन्य प्रशिक्षण उडानमा रहेको थाई हेलिकप्टर दुर्घटनामा परेको हो।
चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार हेलिकप्टर दुर्घटना हुँदा चालक दलका दुवै सदस्यको मृत्यु भएको छ।
यो विमान दुर्घटनाबारे अनुसन्धान गर्न अनुसन्धानकर्ताको टोली पनि घटनास्थलमा पुगेको छ। |
काँग्रेस सभापतिको १३ सय मतगणना गर्दा कसको कति मत ? काठमाडौं । नेपाली कांग्रेसको सभापति पदमा शेरबहादुर देउवाले अग्रता लिएका छन् । प्रारम्भिक मतमै अगाडि रहेका देउवाले प्रतिद्वन्द्वी डा शेखर कोइरालासँग अग्रता बढाउँदै लगेका हुन् । देउवा र शेखरको मतअन्तर दुई सय कटेको छ ।
एक हजार तीन सय मत गनिसक्दा देउवाले ७६१ मत प्राप्त गरेका छन् भने शेखर कोइरालाले ५२७ मत प्राप्त गरेका छन् । मतान्तर २३४ रहेको छ । राष्ट्रिय सभागृहमा मतगणना जारी छ ।
|
कांग्रेस सभापतिमा देउवाको सुरुवाती अग्रता काठमाडौं । नेपाली कांग्रेसको सभापति पदमा शेरबहादुर देउवाले अग्रता लिएका छन् ।
राष्ट्रिय सभागृहमा जारी दोस्रो चरणको मतदानअन्तर्गत जारी मतगणनाको प्रारम्भिक नतिजामा देउवाले अग्रता लिएका हुन् ।
तीन सय मत गन्दा देउवाले १७४ मत प्राप्त गरेका छन् । शेखर कोइरालाले १२४ मत प्राप्त गरेका छन् ।
मतगणना जारी |
कांग्रेस सभापतिको पुनः मतदानको मतगणना (तस्बीरहरु) काठमाडौं । नेपाली कांग्रेसको सभापति चयनका लागि मतगणना सुरु भएको छ । राष्ट्रियसभा गृहभित्र तीन ठाउँमा मंगलबार राति ११ बजेर १५ मिनेटमा गणना सुरु भएको हो ।
पहिलो चरणमा सभापतिका कुनै पनि उम्मेदवार ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि दिउँसो साढे ३ बाट मतदान भएको थियो । मतदान राति साढे ९ बजेसम्म चलेको थियो । मतदान सकिएको साढे २ घण्टापछि गणना सुरु भएको हो ।
केन्द्रीय निर्वाचन समितिले मतगणना सकिन कम्तीमा तीन घण्टा लाग्ने जनाएको छ । यस हिसाबले बिहान साढे २ बजे अन्तिम मतपरिणाम आइसक्नेछ ।
दोस्रो चरणमा शेरबहादुर देउवा र डा शेखर कोइराला सभापतिको प्रतिस्पर्धामा छन् । देउवालाई पहिलो चरणमा तेस्रो भएका प्रकाशमान सिंह, चौथो भएका विमलेन्द्र निधि र पाचौं भएका कल्याण गुरुङले समर्थन गरेका छन् ।
शेखर भने एक्लै लडिरहेका छन् । पहिलो चरणमा देउवाले २२५८ र शेखरले १७२९ मत प्राप्त गरेका थिए । देउवालाई ५० प्रतिशत कटाउन ८२ मत कम परेको थियो ।
सभापतिपछि अन्य पदाधिकारी र केन्द्रीय सदस्यको मतदान भने पर्सी बिहीबारदेखि केन्द्रीय कार्यालय सानेपामा सुरु हुने निर्वाचन समितिले जनाएको छ ।
|
ऋण तिर्न नसकेपछि अनिल अम्बानीको कम्पनी लिलामीमा बेचियो, ऋणको १ चौथाइ मात्र पर्यो काठमाडौं। ऋणमा डुबेको अनिल अम्बानीको कम्पनी रिलायन्स नेवल एण्ड इन्जिनियरिङ लिमिटेड (आरएनइएल) अब मुम्बइका उद्योगपति निखिल भी मर्चेन्टको हुने भएको छ । लिलामी प्रक्रियामा निखिलले सबैभन्दा धेरै मूल्य कबोल गरेर यो कम्पनी अधिग्रहणको अधिकार पाएका हुन् । आरएनइएललाई मूल रुपले पिपावाव शिपयार्डको नमले चिनिन्छ ।
सूत्रले बिजनेस टुडेलाई बताएअनुसार निखिल मर्चेन्ट र उनका पार्टनरहरुको तर्फबाट समर्थित कन्सोर्टियम हेजल मर्केन्टाइल प्रा. लि. ले तेस्रो राउण्डमा सबैभन्दा धेरै मूल्य कबोल गर्यो जो अरुको भन्दा धेरै बढी छ । कमिटी अफ क्रेडिटर्सले गत महिना नै यो लिलामी प्रक्रियामा भारग लिइरहेका कम्पनीहरुसँग छलफल गरेर उच्च प्रस्तावहरुको माग गरेको थियो । त्यसपछि हेजल मर्केन्टाइलले शिपयार्डको लागि आफ्नो कबोल मूल्य संशोधन गरेर २७०० करोड बनाएको थियो । पहिले हेजलले २४०० करोड प्रस्ताव गरेको थियो ।
आइडीबीआइ बैंक रिलायन्स नेवलको लिवड बैंकर हो । शिपयार्डलाई गत वर्ष जनवरीमा नेशनल कम्पनी ल ट्रिब्युनल अन्तर्गत लगिएको थियो ताकि कम्पनीले तिर्न नसकेको ऋण असुली गर्न सकियोस् । रिलायन्स नेवल एण्ड इन्जिनियरिङले १२ हजार ४२९ करोड तिर्नुपर्ने ऋण छ । आरएनइएलले ऋण तिर्न बाँकी भएका १० ठूला ऋणदाताहरुमा भारतीय स्टेट बैंकको १९६५ करोड रुपैयाँ बाँकी छ । युनियन बैंक अफ इण्डियाको पनि १५५५ करोड रुपैयाँ तिर्न बाँकी छ ।
अनिल अम्बानीको यो कम्पनी लिलामीमा किन्नको लागि तीन कम्पनीले प्रस्ताव पेश गरेका थिए । एउटा दुबइको एनआरआइ समर्थित कम्पनी थियो जसले केवल १०० करोड प्रस्ताव गरेको थियो । उद्योगपति नवीन जिन्दलको कम्पनीले ४०० करोड रुपैयाँ प्रस्ताव गरेका थिए । आरएनइएलको नाम पहिले रिलायन्स डिफेन्स एण्ड इन्जिनियरिङ लिमिटेड थियो । अनिल अम्बानीको रिलायन्स समूहले २०१५ मा पिपावाव डिफेन्स एण्ड अफशोर इन्जिनियरिङ लिमिटेडलाई अधिग्रहण गरेपछि यसको नाम बदलेर रिलायन्स नेवल एण्ड इन्जिनियरिङ लिमिटेड बनाइएको थियो । |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.