content
stringlengths
31
27.4k
सूर्यविनायक नगरपालिकाका कर्मचारीलाई कोरोना भएपछि सेवा प्रभावित भक्तपुर। सूर्यविनायक नगरपालिकाका जनप्रतिनिधिसहित २३ जना कर्मचारीलाई एकै पटक कोरोना सङ्क्रमण पुष्टि भएको छ। जनप्रतिनिधिसहित कर्मचारीलाई कोरोना सङ्क्रमण भएपछि नगरपालिकाले प्रदान गर्ने सेवा प्रभावित बनेको छ । कार्यालयका प्रमुख प्रशासकीय अधिकृत, विभिन्न शाखाका प्रमुखसहितलाई कोरोना सङ्क्रमण भएपछि कार्यालयले नियमितरुपमा दिँदै आएको सेवा प्रभावित भएको हो । नगरपालिका कार्यालय मात्रै नभई विभिन्न वडाका वडाध्यक्षसहित कर्मचारीलाई कोरोना भएपछि केही वडा कार्यालयसमेत बन्द भएका छन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद कँडेल, स्वास्थ्य शाखाका प्रमुख वसन्त चापागाईंसहितका कर्मचारी, शिक्षा शाखाका सबै कर्मचारी, नक्सा शाखाका सबै कर्मचारी, योजना शाखाका सबै कर्मचारी र नगर प्रहरी नौ जनामा कोरोना सङ्क्रमण भएको नगरपालिकाका पूर्वाधार विकास समितिका संयोजक एवं वडा नं ७ का वडाध्यक्ष रवीन्द्र सापकोटाले जानकारी दिए । सङ्क्रमित कर्मचारी होम आइसोलेसनमा छन् । कार्यालय खुला नै रहेको नगर प्रमुख वासुदेव थापाले जानकारी दिनुभयो । “कोरोना भएपछि कर्मचारी होम आइसोलेसनमा छन्, अत्यावश्यक बाहेक अरु सेवा दिन सकिएको छैन”, उनले भने । नगरपालिकामा सेवा लिन आउने सेवाग्राहीको सङ्ख्या ह्वात्तै घटेको छ । सूर्यविनायक नगरपालिका–१ का वडाध्यक्ष सानुकाजी कायस्थसहित कर्मचारीलाई सङ्क्रमण भएपछि अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको छ । कर्मचारीलाई सङ्क्रमण देखिएपछि केही समयका लागि आलोपालो प्रणालीमा सेवा सञ्चालन गर्नेबारे छलफल भएको उनले बताए । मध्यपुरथिमि र चाँगुनारायण नगरपालिकामा पनि अत्यावश्यक बाहेकका सेवा प्रभावित भएका छन् । मध्यपुरथिमिका नगर प्रमुख मदनसुन्दर श्रेष्ठलाई पनि कोरोना सङ्क्रमण भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्ण मिजारका अनुसार अहिले जिल्लामा एक हजार १०० पुरुष र ९५१ महिला सक्रिय कोरोना सङ्क्रमित छन् ।
ओमिक्रोन निको भइसकेपछि यसरी राख्नुहोस् स्वास्थ्यको ख्याल काठमाडौं । कोरोना भाइरस श्वाशप्रश्वाशको माध्यमबाट सर्ने रोग हो । यो संक्रमित व्यक्त्तिले खोक्दा वा हाछ्युँ गर्दा नाक वा मुखबाट निस्कने छिट्टाको माध्यमबाट एक व्यक्त्तिबाट अर्को व्यक्त्तिमा सर्दछ । हालै कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन बढ्दो क्रममा रहेको छ । यो भेरियन्ट अहिले नेपाल लगायत विभिन्न मुलुकमा देखिएको छ। ओमिक्रोन भेरियन्ट धेरै छिटो फैलिन सक्ने भेरियन्टका रूपमा देखा परेको छ। ओमिक्रोनले स्वास्थ्यमा समस्या भएका व्यक्तिहरुमा अलिकबढी आक्रमण गर्ने गर्दछ । जस्तै , लगातार लामो समयदेखि मेडिकेसन लिइरहेका व्यक्ति, क्यान्सर, सिओपिडी, क्रोनिक किड्नीसम्बन्धी रोग, डायबिटिज, मोटोपनाको समस्या भएका बिरामीको स्वास्थ्यमा भाइरसले बढी असर गर्छ । ओमिक्रोनको संक्रमणबाट बच्न मास्कको सही प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, बेलाबेलामा साबुनपानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने, भिडभाड नगर्ने, हावा आवतजावत राम्रो हुने स्थानमा बस्ने गर्नु पर्दछ । साथै कोभिड–१९ विरुद्धको खोप लगाउनुपर्छ। खोप लगाइसकेका व्यक्तिलाई कोरोना संक्रमण भए पनि धेरै असर नगर्ने चिकित्सकहरु बताउँछन् । स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमणबाट निको भएका व्यक्तिहरुमा पूर्ण रुपले कोरोना हटिनसक्ने हुनाले स्वास्थ्यको विशेष ख्याल गर्न आग्रह गरेको छ । कोरोनाबाट निको भएका व्यक्तिहरुले आफ्नो स्वास्थ्यको ख्याल कसरी गर्ने त ? निको भएका संक्रमितमा दीर्घकालीन असर देखिने विभिन्न तथ्यांकले बताएका छन् । तर, संक्रमण भएका सबै व्यक्तिमा भने दीर्घकालीन असर देखिँदैन । सामान्यतः तीन हप्ताभित्र संक्रमण निको हुन्छ । जटिल लक्षण देखिएका बिरामीमा भने निको हुने समय लम्बिन सक्छ । यस्तै, पहिलेदेखि अन्य स्वास्थ्य समस्या भएका र सिभियर संक्रमण भएका व्यक्तिको स्वास्थ्यमा दीर्घकालीन असर देखिन सक्छ । अध्ययनअनुसार केही व्यक्तिमा संक्रमण निको भइसकेपछि न्युरोलोजिकल र मानसिक समस्या देखिन सक्छन् । यसका लागि संक्रमण निको भइसकेका व्यक्तिले समेत स्वास्थ्यको विशेष ख्याल राख्न आवश्यक छ । सामान्य रूपमा लिने-लक्षण देखिएका बिरामीमा औषधिको प्रयोगबिना ७२ घन्टासम्म ज्वरो नआउनु, रुघाखोकी वा श्वासप्रश्वासको समस्या नदेखिनु संक्रमण निको हुने लक्षण हुन् । संक्रमित व्यक्तिमा भाइरसले पार्ने असरभन्दा यसले निम्त्याएको डरका कारण बढी समस्या भइरहेको पाइन्छ । तसर्थ, संक्रमण निको भइसकेपछि केही समय आराम गर्न आवश्यक हुन्छ। नियमित व्यायाम गर्ने- जीवनशैली सन्तुलित नहुँदा आइसोलेसन बसाइपछि स्वास्थ्यमा अन्य प्रतिकूल समस्या पनि देखिन सक्छन्, यसका लागि नियमित शारीरिक व्यायाम गर्नुपर्छ । सुरुवातमा हलुका व्यायाम जस्तै, घरमै हिँडडुल गर्ने वा अन्य सामान्य व्यायाम गर्न सकिन्छ । लक्षणहरूमा ध्यान दिने-संक्रमण निको भइसकेपछि पनि भाइरसका लक्षणहरू देखिन सक्छन् । जस्तै, ज्वरो आउने, खोकी वा श्वासप्रश्वासमा देखिनेजस्ता सामान्य लक्षणहरू देखिन सक्छन् । टाउको दुख्ने वा श्वासप्रश्वासमा जटिल समस्या भएमा चिकित्सकको सल्लाह लिनुपर्ने हुन्छ । संक्रमणलाई बेवास्ता नगर्ने-सामान्यतः एकचोटि संक्रमण निको भइसकेपछि दोस्रोपटक पनि संक्रमण देखिने सम्भावना रहन्छ । कतिपयले संक्रमण निको भइसकेपछि केही हँुदैन भनेर बेवास्तासमेत गरिरहेको देखिन्छ, शरीरमा भाइरसविरुद्धको इम्युन नबनिसकेकाले ख्याल राख्नुपर्छ । साथै बेसार, मरिच, खोर्सानी, जिरा, धनियाँ, मेथी, टुसा उमारेका खानेकुरा, मह, कागती, अमला, अम्बा, फलफूल, दही, मोही, चिज, माछा मासु र अण्डा राम्रोसँग पकाएर खाने गर्नु पर्दछ । हेर्नुहोस् भिडियो: 
४० वटा देशले लागू गरिसकेको अत्याधुनिक प्रविधि अमेरिकाले किन लागू गर्न सकेन ? काठमाडौं। अमेरिकामा फाइभ जी इन्टरनेट प्रविधि सुरु हुनासाथ स्थगित गरिएको छ । कैयौं अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनीले अमेरिकाले फाइभजी प्रविधि लागू गरेसँगै अमेरिकाका विमानस्थलमा उडान नगर्ने निर्णय गरेपछि अमेरिका फाइभ जी प्रविधि लागू गर्नबाट पछि हट्नुपर्यो । अमेरिकाले फाइभ जी प्रविधि लागू गर्नासाय, इमिरेट्स एयरलाइन्स, एयर इण्डिया सहित अमेरिकाकै कम्पनीहरु डेल्टा एयरलाइन्ट, अमेरिकन एयरलाइन्स, युनाइटेड एयरलाइन्स लगायत धेरै कम्पनीले यसको विरोध गरेका थिए । एयरलाइन्स कम्पनीहरुले फाइभ जी प्रविधिले विमानको अवतरणमा प्रभाव पारेर असुरक्षित बनाउने बताएका छन् । एयरलाइन्स कम्पनीहरुले अमेरिकाका कैयौं विमानस्थलबाट आउने र जाने दुवै उडान रद्द गरिदिएपछि अन्ततः फाइभ जी प्रविधि लागू गर्न लागेका अमेरिकाका २ प्रमुख कम्पनीहरु एटी एण्ड टी र वेरिजोनले तत्कालको लागि फाइभ जी प्रविधि लागू गर्ने योजना स्थगित गरेका छन् । खासमा भएको के हो ? कुनै पनि पछिल्लो इन्टरनेट प्रविधि थ्रीजी, फोरजी वा फाइभजीका लागि स्पेक्ट्रमको आवश्यकता हुन्छ । यी स्पेक्ट्रमको फ्रिक्वेन्सी जति धेरै हुन्छ इन्टरनेटको गति पनि त्यत्तिकै धेरै हुन्छ । अमेरिकामा फाइभ जी प्रविधिका लागि लिलामी भएको स्पेक्ट्रमको फ्रिक्वेन्सी ३.७ देखि ३.९८ गिगाहर्ज छ । यसलाई सी ब्याण्ड पनि भनिन्छ । यो फ्रिक्वेन्सीले एयरलाइन्सको अल्टिमिटरमा समस्या भएको हो । अमेरिकाको नियामक निकाय संघीय उड्डयन प्रशासनका अनुसार फ्लाइटको अल्टिमिटरले ४.२ देखि ४.४ गिगाहर्जको फ्रिक्वेन्सीकमा काम गर्छ । अल्टिमिटर त्यो उपकरण हो जसले पाइलटलाई विमान अवतरण गर्न सघाउँछ । पाइलटले अल्टिमिटरबाटै विमान जमिनबाट कति उचाइमा छ र विमानले जमिन छुन कति दूरी बाँकी छ भन्ने थाहा पाउँछन् । यसैको सहयोगमा पाइलटले विमानलाई सुरक्षित अवतरण गराउँछन् । अल्टिमिटर लो भिजिबिलिटीमा निकै उपयोगी हुन्छ किनकि पाइलटले बाहिर देख्न नसक्दा पनि अल्टिमिटरले विमानले जमिन छुन कति बाँकी छ भन्ने सटिक जानकारी दिन्छ । अल्टिमिटर र फाइभ जी फ्रिक्वेन्सीमा के छ सम्बन्ध ? अल्टिमिटर र फाइभ जी स्पेक्टमको फ्रिक्वेन्सीमा धेरै फरक नहुनु नै यहाँ चिन्ताको विषय हो । एयरलाइन्स कम्पनीहरुले अल्टिमिटर र फाइभजी फ्रिक्वेन्सी नजिक भएकोले फाइभ जीको फ्रिक्वेन्सीले अल्टिमिटरलाई प्रभावित पार्ने चिन्ता व्यक्त गरेका छन् । यसको कारणले विमानको नेभिगेसन सिस्टमले ठिकसँग काम नगर्ने उनीहरुको चिन्ता हो । एयरलाइन्स कम्पनीहरुलाई फाइभ जी प्रविधि देशैभरी सुरु गर्दा पनि कुनै समस्या छैन तर उनीहरुले फाइभ जी विमानस्थलको रनवेबाट कम्तीमा ३.२ किलोमिटर (२ माइल) दूरीसम्म मात्र संचालन गर्न भनेका छन् ताकि अवतरण गर्न लागेको विमानको अल्टिमिटरको फ्रिक्वेन्सी र फाइभ जीको फ्रिक्वेन्सी नजुधोस् । युनाइटेड एयरलाइन्सले फाइभ जी नेटवर्क रनवेमा रहेमा यसबाट हरेक वर्ष १५ हजारभन्दा धेरै उडान र साढे १२ लाख यात्री प्रभावित हुने बताएको छ । टेलिकम कम्पनी के भन्छन् ? वेरिजोन र एटी एण्ड टीले भने विश्वभरका ४० भन्दा धेरै देशमा फाइभ जी प्रविधि सुरु हुँदा त्यहाँ केही समस्या नभएको र अमेरिकामा मात्र समस्या भयो भनिएको बताउँदै एयरलाइन्स कम्पनीहरुले तथ्यलाई तोडमोड गरेर भ्रामक सूचना र त्रास फैलाएको आरोप लगाएका छन् । अरु देशमा समस्या नहुँदा अमेरिकामा मात्र किन भयो ? युरोपेली संघका २७ देशले फाइभ जी प्रविधि सुरु गरिसकेका छन् । २०१९ मा इयुले फाइभ जीको लागि फ्रिक्वेन्सी तय गरेको थियो । यसअनुसार फाइभ जीको फ्रिक्वेन्सी ३.४ देखि ३.८ गिगाहर्ज हुनेछ । यो अमेरिकामा तय फ्रिक्वेन्सी भन्दा कम हो । फ्रान्समा फाइभ जीको लागि जुन स्पेक्ट्रम प्रयोग हुन्छ त्यसको फ्रिक्वेन्सी ३.६ देखि ३.८ गिगाहर्ज छ । यो पनि अमेरिकाको भन्दा कम हो । दक्षिण कोरियामा अप्रिल २०१९ मा फाइभ जी सुरु गरिएको थियो । उहाँको फ्रिक्वेन्सी ३.४२ देखि ३.७ गिगाहर्ज छ । समाचार एजेन्सी रोयटर्सका अनुसार अहिलेसम्म यी कुनै पनि देशमा विमानस्थल नजिक फाइभ जी चलाउँदा कुनै समस्या भएको छैन । अमेरिकाको वायरलेस ट्रेड ग्रुप सीटीआइएका अनुसार युरोप र एसियाका करिब ४० देशमा फाइभ जीको लागि सी ब्याण्डको प्रयोग भइरहेको छ तर त्यहाँका विमानका रेडियो अल्टिमिटरमा कुनै प्रभाव परेको छैन ।
पत्रकार विश्वकर्माको निधनप्रति महासङ्घद्वारा दुःख व्यक्त काठमाडौं ।टिभी टुडे टेलिभिजनमा कार्यरत पत्रकार लालबहादुर विश्वकर्मा (एलबी)को निधनप्रति नेपाल पत्रकार महासङ्घले दुख व्यक्त गरेको छ । महासङ्घले आज विज्ञप्ति जारी गरी विश्वकर्माको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल, ऊर्जाशील र जुझारु युवा पत्रकार गुमाएको जनाएको छ । स्वास्थ्यमा अचानक समस्या देखिएपछि बुधबार राति ललितपुरस्थित पाटन अस्पताल पुर्‍याइएका २४ वर्षीय विश्वकर्माको उपचारकै क्रममा आज बिहान निधन भएको हो । स्व विश्वकर्माका श्रीमती र तीन वर्षीय छोरा छन् । अछामको रामारोशन घर भएका विश्वकर्मा पछिल्लो समय काठमाडौँमा रही पत्रकारितामा सक्रिय थिए । उनले इमेज टेलिभिजन, जनता टेलिभिजन, इकागज डटकमलगायत सञ्चार माध्यममा काम गरेका थिए।
पाँच स्वास्थ्यचौकी भवन निर्माणको काम अलपत्र काठमाडौं। खोटाङमा पाँच स्वास्थ्यचौकीको भवन निर्माणको काम ७ महिनादेखि अलपत्र परेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पाचिउरीडाँडा, हलेसी तुवाचुङ नगरपालिका-१ बाहुनीडाँडा, हलेसी तुवाचुङ नगरपालिका-६ मंगलटार, दिप्रुङ चुईचुम्मा गाउँपालिका-४ बतासे र ऐसेलुखर्क गाउँपालिका-१ राखाबांदेलस्थित स्वास्थ्यचौकीको भवन निर्माणको काम अलपत्र परेको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) बबरमहल, काठमाडौंबाट टेण्डर भएर जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) ओखलढुंगामार्फत सुरु गरिएको पाँच स्वास्थ्यचौकीको भवन गत साउनदेखि ठप्प बनेको छ । भ्याट सहित ७ करोड ४० लाख, ८४ हजार २९६ रुपैयाँमा पुरा गर्नेगरी गौरी पार्वती-न्यू टेक्नीकल जेभी, ललितपुरले स्वास्थ्यचौकीको डेढ तले भवन निर्माणको ठेक्का लिएको थियो । आगामी ८ चैतसम्ममा भवनको काम सम्पन्न गर्नेगरी निर्माण कम्पनीले गत १० मंसिर २०७७ मा ठेक्का सम्झौता गरेको सघन सहरी विकास तथा भवन निर्माण आयोजना ओखलढुंगाले जनाएको छ । हालसम्म स्वास्थ्यचौकी दोर्पाचिउरीडाँडा, मंगलटार, बतासे र राखाबांदेल स्वास्थ्यचौकी भवनको स्ट्रक्चरको काम सकिए पनि बाहुनीडाँडा स्वास्थ्यचौकीको काम अझै सुरु नभएको सघन सहरी विकास तथा भवन निर्माण आयोजना ओखलढुंगाका इन्जिनियर विनोदकुमार मण्डलले बताए ।‘असार मसान्तसम्म काम भयो । केही भवनको प्लास्टर पनि गरिएको छ । सोही अनुसार भुक्तानी पनि भयो,’ इन्जिनियर मण्डलले भने, ‘त्यस यता भवन निर्माणको काम बन्द छ । काम सुरु गर्न पत्राचार पनि गरेका छौं तर कुनै रेस्पोन्स आएको छैन ।’ मुख्य ठेकेदारले दोस्रो ठेकेदार र दोस्रोले तेस्रो ठेकेदारलाई भवनको काम छाडेकाले भवनको काम अलपत्र परेको कार्यालयले जनाएको छ । दोर्पाचिउरीडाँडाका होटेल व्यवसायी तथा कामदारले भवन निर्माणको काम गरिरहेको ठेकेदारबाट पाउनुपर्ने भुक्तानी पनि हालसम्म पाएका छैनन् । निर्माण कम्पनीका प्रतिनिधिले होटेलमा खाना खाएको पैसा हालसम्म नतिरेको र भवन निर्माणमा श्रम गरेका कामदारले पारिश्रमिक नपाएको जानकारी आएको इन्जिनियर मण्डलले बताए । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना अन्तरगत राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) ओखलढुंगामार्फत अघि बढेको स्वास्थ्यचौकीको भवन निर्माणको जिम्मेवारी हाल सघन सहरी विकास तथा भवन निर्माण आयोजना ओखलढुंगालाई सरेको छ । गत १ असोजदेखि पुनर्निर्माण प्राधिकरण अन्तरगतको भवनको जिम्मेवारी सघन सहरी विकास तथा भवन निर्माण आयोजनामा सरेपछि स्वास्थ्यचौकी भवन निर्माणको काममा अप्ठ्यारो आइपरेको निर्माण कम्पनीको दाबी छ ।
ताप्लेजुङमा तेस्रो पटक हिमपात काठमाडौं। ताप्लेजुङमा तेस्रो पटक हिमपात भएकोछ । समुद्र सतहदेखि चार हजार २०० मिटर उचाईमा अवस्थित फक्ताङलुङ गाउँपालिका(७ याङमा तीन हजार ४०० सय मिटर उचाई क्षेत्रका बस्तीहरूमा बुधबार रातिदेखि बाक्लो हिमपात भएको हो । हिमपातका कारणले अत्यधिक चिसो बढेकाले बढी बालबालिका र ज्येष्ठ नागरिकहरू प्रभावित भएका घुन्साका स्थानीय केल्साङ शेर्पाले बताए । हिमपातले जनजीवन प्रभावित हुनका साथै पशुचौपाय समेत प्रभावित भएका टासी तेन्जीले शेर्पाले बताए । हिमाली क्षेत्रमा प्रमुख पुर्ख्यौली पेसाको रुपमा पशुपालन गर्दै आएको छ । तर, हिमपातको समय पशु जोगाउन मुस्किल पर्ने शेर्पाले बताए । सबैभन्दा याक चौँरीको बाछाबाछीहरूलाई हिमपातको समयमा जोगाउने समस्या हुने शेर्पाको भनाइ छ । त्यस्तै समुद्र सतहदेखि तीन हजार २०० मिटरमा अवस्थित ओलाङचुगोला र भले, ग्याप्ला बस्तीमा पनि निकै बाक्लो हिमपात भएको छ । मिक्वाखोला गाउँपालिका-६ तोक्पेगोला र पापुङ बस्तीहरूमा समेत हिमपात भएको मिक्वाखोला गाउँपालिका-६ का वडा अध्यक्ष डन्डु शेर्पाले बताए । त्यस्तै समुद्र सतह देखि तीन हजार ७९४ मिटर उचाईमा अवस्थित ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिर क्षेत्रमा पनि हिमपात भएको छ ।हिमपात भएसँगै यता सदरमुकाम फुङ्लिङ बजारमा चिसो बढेको छ । ताप्लेजुङमा पहिलो पटक १३ र १४ पुसमा र देस्रो २९ पुसमा गते हिमापात भएको थियो । अहिले ताप्लेजुङमा तेस्रो पटक हिमपात भएको हो ।
भोलिदेखि मौसममा सुधार हुने काठमाडौं। पश्चिमी वायुको प्रभावले देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही केही हल्का वर्षा र हिमपात भइरेहको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । उक्त प्रणालीको प्रभावले पहाडी भेगका थोरै स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागका वरिष्ठ मौसमविद् वरुणा पौडेलले बताए । “सो मौसमी प्रणाली भोलिदेखि कमजोर हुँदै जाने भएकाले शुक्रबारबाट मौसममा सुधार हुनेछ”, उनले भने । भोलि देशभर आंशिकदेखि सामान्यतया बदली रही हरेक प्रदेशका केही स्थानमा हल्का वर्षा तथा देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताइएको छ । विभागले आगामी २४ घण्टाको लागि चेतावनी तथा परामर्श जारी गर्दै देशको पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको साथै देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । साथै देशभर चिसो अझै बढ्ने क्रममा रहेकाले यसबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन अनुरोध गरिएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम सात दशमलव ६ डिग्री र अधिकतम तापक्रम १८ दशमलव चार डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबै भन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस एक दशमलव चार डिग्री र सबै भन्दा धेरै दिपायलको अधिकतम तापक्रम २२ दशमलव दुई डिग्री सेल्सियस रहेको छ ।
अमेरिकाले फाइभ जी इन्टरनेट सुरु गरेपछि विमान कम्पनीहरु चिन्तित, ठूलो संख्यामा उडान रद्द काठमाडौं। अमेरिकामा नयाँ फाइभ जी सेवा विमानमा यात्रा गर्ने यात्रु र विमान कम्पनीहरुलाई निकै भारी परिरहेको छ । भारत समेत विश्वका कैयौं देशहरुबाट अमेरिका जाने र अमेरिकाबाट आउने हजारौं यात्रु र ठूलो संख्यामा उडानहरुमा यसको असर परेको छ । समाचार एजेन्सी पीटीआइका अनुसार एयर इण्डिया सहित कैयौं अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनीहरुले बुधबार अमेरिकासँग सम्बन्धित उडानहरु रद्द गरिदिएका छन् । विमान कम्पनीहरुले यो फैसला लिँदै चेतावनी दिएका छन् कि फाइभ जी फोन सेवाका सिग्नलले विमानको नेभिगेसन सिस्टममा हस्तषेप गर्न सक्छन् । अमेरिकाका कैयौं विमानस्थलमा यो सेवा बुधबारदेखि सुरु हुँदैछ । एयर इण्डियाले ट्वीट गर्दै अमेरिकामा फाइभ जी सेवा लागू भएका कारण उसले १९ जनवरी २०२२ का उडानहरु रद्द गरेको जानकारी दिएको छ । जयन्त राज समस्याको सामना गर्ने यात्रुमध्ये एक हुन् । उनी बुधबार न्यूयोर्कबाट एयर इण्डियाको विमानमा दिल्ली आउनुपर्ने थियो । तर, यो उडान रद्द भइसकेको छ । उनले यसको जानकारी मंगलबार गरिएको ट्वीटबाट पाएको बताए । यस्ता कैयौं अरु यात्रीले पनि मिडियासँग आफ्ना समस्या साझा गरेका छन् । एयर इण्डियाबाहेक कैयौं अन्य एयरलाइन्सले पनि फाइभजी सेवा लागू भएका कारण उडान रद्द गरिएको जानकारी दिएका छन् । एमिरेट्स एयरलाइन्सले अमेरिकाका केही विमानस्थलमा फाइभ जी मोवाइल नेटवर्क सेवा लागू भएपछिका चिन्ताका कारण १९ जनवरीदेखि अर्को आदेश नहुँदासम्म बोस्टन, शिकागो, ड्यालस, मियामी, ओरल्याण्डो, सान फ्रान्सिस्को र सिएटलका उडान स्थगित गरिएको जानकारी दिएको छ । अमेरिकाका सबैभन्दा ठूला १० एयरलाइन्स कम्पनीहरुले पनि फाइभ जी मोवाइल फोन सेवा सुरु गर्ने विषयमा चेतावनी दिएका छन् । उनीहरुले यसबाट विमानको उडानमा ठूला बाधा उत्पन्न हुन सक्ने बताएका छन् । वेरिजोन र एटिएण्डटीको फाइभजी मोवाइल फोन सेवा बुधबारदेखि सुरु हुँदैछ । यही बीच यी कम्पनीहरुले केही विमानस्थलका केही टावरमा सेवा ढिलो लागू गर्ने विषयमा सहमत भएको बताएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले यो फैसलाको स्वागत गरेका छन् । एयरलाइन्स कम्पनीहरुलाई फाइभ जी नेटवर्कको सी ब्याण्डले विमानको नेभिगेसन सिस्टममा बाधा उत्पन्न गर्ने डर छ । यस्तो खासगरी खराब मौसममा हुन सक्छ । अमेरिकी उड्डयन प्राधिकरणलाई कम्पनीहरुले पहिले नै यसबारे पत्र लेखेर चेतावनी दिइसकेका छन् । अमेरिकन एयरलाइन्स, डेल्टा एयरलाइन्स र युनाइटेड एयरलाइन्सका मुख्य कार्यकारी अधिकारी पनि चेतावनी दिनेमध्येका हुन् । उनीहरुले भनेका छन् ‘हवाइ यात्रीहरु, सामान परिवहन र मेडिकल सप्लाइको चेन र डेलीभरीमा कुनै किसिमको बाधालाई रोक्नको लागि यसमा तुरुन्त दखल दिनुपर्ने आवश्यकता छ ।’ मेडिकल सप्लाइमा खोप पनि पर्छ । बीबीसीले एयरलाइन्स कम्पनीले उड्डयन प्राधिकरणलाई लेखेको पत्र देखेको बताएको छ । यो पत्र परिवहन मन्त्री पिट बटेगेगका अलावा संघीय उड्डयन प्रशासनका प्रमुख, संघीय संचार आयोगका अध्यक्ष र राष्ट्रिय आर्थिक परिषदका निर्देशलाई पठाइएको छ । बीबीसीले स्रोतको हवाला दिँदै अमेरिकी सरकारमा उच्तम स्तरमा यस विषयमा छलफल भइरहेको र यसलाई निकै गम्भीर स्थिति बताइएको लेखेको छ । अमेरिकामा एयरलाइन्स कम्पनीहरुले ‘१९ जनवरी २०२२ मा उड्डयन नियामक संघीय उड्डयन प्रशासनले जुन विमानस्थललाई प्रभावित भनेको थियो ती विमानस्थलको रनवेको करिब २ माइलको दूरीसम्म फाइभ जी सिग्नललाई बाहिर राखियोस्’ भनेका छन् । उनीहरुले भनेका छन् ‘यदि यस्तो गरिएन भने फाइभ जीले उड्डयन उद्योगमा निकै खराब असर पार्नेछ जसबाट यात्रीहरु, सप्लाइ चेन, खोप वितरण र अर्थव्यवस्थामा असर पर्नेछ ।’ विमान बनाउने दुई ठूला कम्पनी बोइङ र एयरबसले पनि हालै यो चिन्ता उठाएका थिए । एयरलाइन्स कम्पनहिरुले भनेका छन् ‘विमान बनाउने कम्पनहिरुले हामीलाई जानकारी दिएका छन् कि विमानको लटमध्ये कैयौंलाई लामो समयसम्म गउण्डेड गर्नुपर्छ ।’ डेल्टा एयरलाइन्सका अनुसार उसले अरु एयरलाइन्ससँग मिलेर अमेरिकी सरकारसँग सुरक्षा तय नहुँदासम्म नयाँ सेवा लागू नगर्न माग गरिरहेको छ । डेल्टाका अनुसार रेडियो अल्टिमिटर एक अहम प्रविधि हो जो विमानका कैयौं गतिविधिहरुको जानकारी दिन्छ र पाइलटलाई सुरक्षित तरिकाले विमान उडाउनको लागि जुन जानकारी आवश्यक हुन्छ त्यो उपलब्ध गराउँछ । अमेरिकाको उड्डयन नियामक एफएएले गत हप्ता भनेको थियो ‘विमानको रेडियो अल्टिमिटरमा फाइभ जीको दखलले ल्याण्डिङको क्रममा इन्जिन र ब्रेकिङ सिस्टममा अवरोध उत्पन्न गर्न सक्छ जसबाट रनवेमा विमान रोक्न बाधा आउन सक्छ । एफएएले आइतबार बताएअनुसार उसले दुई रेडियो अल्टिमिटर भएका मोडललाई स्वीकृति दिएको छ जो बोइङ र एयरबसका कैयौं विमानमा छ । मोवाइल कम्पनीहरुले फाइभ जी प्रविधि लागू गर्नको लागि आफ्नो नेटवर्क अपग्रेड गरेका छन् । यसमा अरबौं डलर खर्च भएको छ । यो प्रविधिबाट इन्टरनेटको गति तीब्र हुनेछ र कनेक्टिभिटी राम्रो हुनेछ । अमेरिकामा वायरलेस उद्योगको समूह सीटीआइएले फाइभ जी प्रविधि सुरक्षित भएको बताएको छ । समूहले विमान उद्योगमाथि तथ्यलाई तोडमोड गरेर डर फैलाएको आरोप लगाएको छ ।
पहिलाे चरणमा ९९ श्रमिक इजरायल प्रस्थान, श्रममन्त्री र इजरायली राजदूतले गरे बिदाइ काठमाडाैं। नेपाल र इजरायलबीच भएको श्रम सम्झौताअनुसार ९९ नेपाली श्रमिक पहिलो चरणमा इजरायल प्रस्थान गरेका छन्। बुधबार राति ६३ महिला र ३६ पुरुष गरी ९९ नेपाली श्रमिक इजरायल प्रस्थान गरेका हुन्। इजरायल सरकारबाट भिसा जारी भइसकेकाले ‘फस्ट कम फस्ट सर्भिस’ का आधारमा उनीहरु रोजगारीका लागि इजरायल गएका हुन्। यसपछि यही माघ १५ र १६ गते दुई उडानमार्फत थप श्रमिक इजरायल जानेछन्। वैदेशिक रोजगार विभागले गत कात्तिकमा ५०० र मङ्सिरमा ६७५ श्रमिकको नामावली रोजगार सम्झौताका लागि इजरायल पठाएको थियो। छनोटमा परेका एक हजार १७५ मध्ये ८२१ महिला र ३५४ पुरुषको अन्तिम नामावली प्रकाशित भएको छ। नेपाल सरकार र इजरायल सरकारबीच २०७७ असोज १४ गते श्रम सम्झौता भएको थियो । नेपाली श्रमिकले इजरायलमा मासिक करिब रु दुई लाख पारिश्रमिक पाउनेछन्। उनीहरुले इजरायली श्रमिकसरहको पारिश्रमिक, बिदा र स्वास्थ्योपचार सुविधा प्राप्त गर्ने काठमाडौँस्थित इजरायली दूतावासले जनाएको छ। इजरायलमा दीर्घकालीन सहायक श्रमिकका लागि छनोट भई पहिलो चरणमा इजरायल प्रस्थान गरेका श्रमिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र नेपालका लागि इजरायली राजदूत हनान गोदारले बिदाइ गरे। पहिलो चरणमा इजरायल प्रस्थान गरेका श्रमिकलाई शुभकामना दिँदै मन्त्री श्रेष्ठले नेपालको प्रतिष्ठा उँचो पार्ने गरी अनुशासित भएर काम गर्न आग्रह गरे। सो अवसरमा नेपालका लागि इजरायली राजदूत गोदारले नेपाली श्रमिकले नेपाली परिवार र इजरायली परिवारबीच सेतुका रुपमा भूमिका निर्वाह गर्ने बताए। दूतावासले इजरायल प्रस्थान गरेका नेपाली श्रमिकको इजरायल बसाई फलदायी रहोस् भनी कामनासमेत गरेको छ। रासस
सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश शर्माको निधन काठमाडौँ । सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको ८८ उमेदमा आज निधन भएको छ। मिर्गौलाको समस्याबाट पीडित उनको आज कमलपोखरीस्थित निजी निवासमा निधन भएको हो। सरकारी सेवामा २०१५ सालमा प्रवेश गरेका शर्मा २०१७ सालमा कानुन मन्त्रालयको शाखा अधिकृतबाट बढुवा भएर अदालतको न्यायाधीश भएर काम गर्दै २०५४ चैतदेखि २०५६ मङ्सिर ३० गतेसम्म नेपालको प्रधानन्यायाधीश भएर काम गरेका थिए। स्व. शर्माका एक छोरा र एक छोरी छन्। छोरा क्यानडाबाट आएपछि अन्त्येष्टि गर्ने तयारी रहेको परिवार स्रोतले जनाएको छ।
काठमाडौं जिल्ला अदालतको सेवा कटौती काठमाडौं ।काठमाडौं जिल्ला अदालतले कोरोनाभाइरस संक्रमण जोखिमलाई मध्यनजर गर्दै सेवा कटौती गर्ने निर्णय गरेको छ । बुधबार बसेको अदालतको पूर्ण बैठकले ६ माघ बिहीबारदेखि १८ माघ मंगलबारसम्मका लागि सेवा कटौती गर्ने निर्णय गरेको हो । ३० जना कर्मचारीमा कोरोना संक्रमण देखिएको र सर्वोच्च अदालतको ४ माघको पूर्ण बैठकले सेवा कटौती गर्ने निर्णय गरेको भन्दै काठमाडौं जिल्ला अदालतले पनि १८ माघसम्म सेवा कटौती गर्ने निर्णय गरेको हो । सेवा कटौती गरेकाबारे जानकारी दिन जारी गरेको विज्ञप्ति कोरोनाभाइरस (कोभिड-१९) को नयाँ भेरियन्ट ओमिक्रोन लगायतका विभिन्न भेरियन्टका कारण उत्पन्न विषम् र असहज परिस्थित उत्पन्न भएको साथै माननीय न्यायाधीशहरु र कर्मचारीहरु लगायत गरी हालसम्म करिब ३० जना जनशक्तिमा संक्रमण देखिएको तथा धेरै माननीय न्यायाधीशज्यूहरु र कर्मचारीहरुमा कोभिडको मिल्दोजुल्दो लक्षणहरु देखिएको सन्दर्भमा सेवाग्राही, अदालतमा कार्यरत जनशक्ति र कानून व्यवसायी एवं अदालतमा आउने अन्य सरोकारवालाहरुमा कोभिड संक्रमणको जोखिम न्यूनिकरण गर्न अत्यावश्यक देखिएको र सम्मानित सर्वोच्च अदालतको मिति २०७८/१०/०४ को पूर्ण बैठकको निर्णयबाट स्थानीय परिस्थिति एवं जोखिमको अवस्था तथा संक्रमित भएको अवस्थासमेतको मूल्याकंनको आधारमा उपयुक्त देखिएको कामकारवाही र सेवा प्रवाहको व्यवस्था सम्बन्धित अदालतले मिलाउने भनी निर्देशन समेत प्राप्त भएको एवं जिल्ला सरकारी वकिल कार्यालय र जिल्ला वार इकाईका पदाधिकारीहरु सँगको छलफलबाट प्राप्त सुझाव समेतलाई मध्यनजर गरी यस अदालतको मिति २०७८/१०/०५ मा बसेको पूर्ण बैठकबाट मिति २०७८/१०/०६ देखि २०७८/१०/१८ सम्म देहाय बमोजिमका सेवा मात्र प्रवाह हुने गरी सेवा संकुचन गर्ने समेतका निर्णयहरु भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ। क. सेवा प्रवाह सम्बन्धमा : १. अभियुक्तलाई अनुसन्धानको लागि हिरासतमा राख्न अनुमित दिने (म्याद थप), पक्राउ पूर्जी अनुमति, कल डिटेल अनुमति र जरुरी पक्राउ पुर्जिको समर्थन सम्बन्धी कार्यहरु, २.थुनुवा प्रतिवादी भएका मुद्दाको पेशी र सुनुवाइ, ३.अभियोगपत्र दर्ता गर्ने, अभियोगपत्रसाथ पेश भएका अभियुक्तको बयान लिने, थुनछेकआदेश गर्ने, ४.प्रहरीद्वारा पक्राउ परि आएका फरार प्रतिवादीको बयान तथा थुनछेक सम्बन्धी कार्य, ५.बन्दीप्रत्यक्षीकरण सम्बन्धी निवेदन, ६.मुद्दा फिर्ता, मिलापत्र, डिसमिस सम्बन्धी काम कारवाही, ७.मुलुकी फौजदारी कार्यविधित संहिता, २०७४ को दफा १५५अनुसारको निवेदन, ८.थुनुवा निवेदक भएका मुलुकी कार्यविधि संहिता, २०७४ को दफा ७३ बमोजिमका निवेदनहरु, ९.बालसुधार गृहमा रहेका बालबालिका जिम्मा लिने विषयसंग सम्बन्धित निवेदन, १०.सम्पत्ति रोक्का सम्बन्धी निवेदन प्यार ११.घरेलु हिंसा सम्बन्धी मुद्दामा अन्तरिम संरक्षणात्मक आदेश माग भएका निवेदनको सुनुवाइ, १२.फैसला कार्यान्वयनसँग सम्बन्धित थुनुवा/कैदीका निवेदन दर्ता र सुनुवाइ, १३. दैनिक ५ वटा अधिकृत वारेसनामा र ३ वटा दर्ताद्वारा विवाह सम्बन्धी निवेदन, (अधिकृत वारेसनामा र विवाह दर्ताको लागि अत्यावश्यक भएमा मात्र सम्बन्धित फाँटमा फोन सम्पर्क (९८४६१०२५०६) गरी उपस्थित हुनको लागि अनुरोध गरिन्छ।) ख. मुद्दा/निवेदन दर्ता गर्ने सम्बन्धमा अत्यावश्यक भएमा मात्र अदालतमा उपस्थित भई सेवा लिने र अन्य तारेख दिने लगायतका कामकारवाही जनस्वास्थ्यका निर्धारित मापदण्ड अनुसार सामाजिक दुरी कायम गर्ने, भिडभाड हुन नदिने लगायतका कुराहरुको पूर्ण परिपालना हुने गरी सञ्चालन गर्न अदालत प्रशासनले आवश्यक व्यवस्था मिलाउने छ। ग.अदालतमा अनावश्यक भिडभाड हुन नदिन अत्यावश्यक र न्यून संख्याको जनशक्तिबाट आलोपालो मिलाई कामकारवाही गर्न व्यवस्था हुनेछ। घ.संक्रमणदर घट्दै गए सेवा सुचारु गर्न सकिने अवस्था भएमा यही बीचमा पुर्नविचार गरी सूचना गरिनेछ ।
सर्वोच्च अदालतमा बुधबारदेखि सेवा कटौती गरिने काठमाडौं।  सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) ले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि बुधबारदेखि आफ्नो सेवा कटौती गर्ने निर्णय गरेको छ । अदालतमा आज बसेको फुलकोर्टले बन्दीप्रत्यक्षीकरण तथा कोभिड महामारीसँग सम्बन्धित, अत्यन्त जरुरी प्रकृतिका जीवन र जनस्वास्थ्य तथा सार्वजनिक महत्वका मौलिक हकसँग सम्बन्धित रिट निवेदनको मात्र नियमितरूपमा सुनुवाइ गर्ने निर्णय गरेको हो । बैठकपछि सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले आज जारी गरेको प्रेस विज्ञप्तिमा बुधबारदेखि लागू हुने गरी यही माघ १८ गतेसम्मका लागि सेवा कटौती गर्ने निर्णय गरेको उल्लेख छ । सो अवधिमा मुद्दा फिर्ता, तामेली एवं मिलापत्रसम्बन्धी कामकारबाही नियमितरूपमा सञ्चालन हुने, मुलुकी फौजदारी कार्यविधिअनुसार थुनुवा रहेका व्यक्तिको निवेदन तथा प्रतिवेदनउपर सुनुवाइ हुनेछ । त्यस्तै थुनुवा भएका मुद्दाको सुनुवाइ गर्ने, हेर्दाहेर्दै र निर्णय सुनाउनेमा रहेको मुद्दाको सुनुवाइ गर्ने र सरकारको तर्फबाट दर्ता भएका प्रत्यर्थी झिकाउने आदेश नभएका पुनरावेदनको सुनुवाइ गर्ने रहेको छ । उच्च र जिल्ला अदालत, अरु न्यायाधीकरणको हकमा स्थानीय परिस्थिति एवं जोखिमको अवस्था तथा सङ्क्रमित भएको अवस्थासमेतको मूल्याङ्कनका आधारमा कामकारबाही गर्ने व्यवस्था मिलाउने बैठकले निर्णय गरेको छ ।
कतिछन् काठमाडौं उपत्यकामा सक्रिय कोरोना संक्रमित ? काठमाडौं। काठमाडौं उपत्यका कोरोना संक्रमणको हटस्पट बन्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्रै काठमाडौं उपत्यकामा ५ हजार ५ सय ४९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा चार हजार चार, ललितपुरमा ९ सय ७५ र भक्तपुरमा ५ सय ७० जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर कूल परीक्षणको ४४.९ प्रतिशत संक्रमण पुष्टि भएकामा उपत्यकामा मात्रै २४.३ प्रतिशतमा कोरोना पुष्टि भएको मन्त्रालयले जारी गरेको तथ्यांकमा उल्लेख छ । हाल काठमाडौंमा १७ हजार ७०९ जना कोरोनाका सक्रिय संक्रमित छन् भने ललितपुरमा ४ हजार ४७१ र भक्तपुरमा २ हजार २९६ गरी कूल २४ हजार ४७६ जना सक्रिय संक्रमित छन् ।यस्तै आज देशभर १० हजार २५८ जनामा कोरोना संक्रमण भएको छ । कोरोना महामारी सुरु भएयता एक दिनमै संक्रमण भएको यो संख्या सबैभन्दा धेरै हो । आज २२ हजार ८२८ को नमुना परीक्षण गर्दा १० हजार २५८ मा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। आज थपिएका संगै देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ४४ पुगेको छ। आजसम्म नेपालमा कूल ९ लाख ७२ हजार १९८ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
गैंडाको आक्रमणबाट पश्चिम चितवनमा एक जनाको मृत्यु चितवन। गैंडाको आक्रमणबाट पश्चिम चितवनमा एकजनाको मृत्यु भएको छ । शनिबार राप्ती नियन्त्रण मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका भरतपुर महानगरपालिका-२८ गोलाघाटका ६० वर्षीय सुकबहादुर कुमाललाई गैंडाले आक्रमण गरेको थियो । अचेत अवस्थामा फेला परेका कुमालको उपचारका लागि भरतपुरतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको स्थानीय भीमसेन कुमालले जानकारी दिए । घाँस काट्न गएका सुकबहादुर अबेरसम्म पनि घर नफर्किएपछि स्थानीयहरू उनको खोजीमा गएका थिए । सुकबहादुरको शरीरमा लागेको चोटका आधारमा गैंडाले नै उनलाई आक्रमण गरेको हुन सक्ने अनुमान गरिएको भिमसेनले बताए । मृतकको शवलाई भरतपुर अस्पतालमा राखिएको छ । यस विषयमा निकुञ्जलाई भने केहि जानकारी नरहेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए । घटनाको विषयमा अब बुझ्ने काम हुने उनले प्रतिक्रिया दिए ।
लागूऔषधसहित १० जना पक्राउ कर्णाली । प्रहरीले सुर्खेतबाट लागूऔषधसहित १० जनालाई पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेतस्थित बुलबुले भ्यू टू होटेलबाट ६३० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ, चार ग्राम चरेस र ३२ ग्राम गाँजाको धुलोसहित १० व्यक्तिलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा वीरेन्द्रनगर नगरपालिका–१ सुर्खेतका २५ वर्षीय युवराज ढकाल, ३ बस्ने २२ वर्षीय कमल डाँगी र ३० वर्षीय सुमन खत्री, ४ बस्ने २४ वर्षीय सुजन शर्मा र २३ वर्षीय रञ्जीत खड्का, नारायण नगरपालिका–८ दैलेखका २३ वर्षीय दीपक थापा र क्षितिज शाही, ११ बस्ने २९ वर्षीय सागर चन्द, डुङ्गेश्वर गाउँपालिका–१ दैलेखका २४ वर्षीय डम्बर खड्का र महावै गाउँपालिका–३ कालीकोटका २२ वर्षीय जीवन सिंह रहेका छन्। होटेलको कोठा नं २०६, २०३ र वीरेन्द्रनगर बजार एरिचोकमा लागूऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा त्यहाँ पुगेको प्रहरीले जाँच गर्दा लागूऔषध भेटिएपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए । उनीहरुलाई  पक्राउ गरी अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।
साधुसन्तलाई न्यानो कम्बल काठमाडौं । कपिलवस्तु शिवराज नगरपालिका–५ चन्द्रौटाका स्व राजाराम जयसवालको स्मृतिमा साधुसन्तलाई भण्डारा र न्यानो कम्बल वितरण गरिएको छ । चन्द्रौटामा रहेको कर्णेश्वरी मन्दिर परिसरमा एक कार्यक्रमका बीच ५१ जना साधुसन्तलाई भण्डारा र न्यानो कम्बल वितरण गरिएको हो । बढ्दो चिसोबाट साधुलाई राहत दिलाउन र पतिको आत्मा शान्तिका लागि कार्यक्रमलाई निरन्तरता दिएको सोनमती जयसवालले बताए। प्रत्येक वर्ष बुवाको सम्झनामा पुण्यप्राप्ति र बुवाको आत्मा शान्तिका लागि साधुसन्तलाई कम्बल प्रदान गर्दै आएको जेठा छोरा सुवासचन्द्र जयसवालले बताए । बुवाको पुण्यतिथिका अवसरमा आमा र पाँच भाइ छोरा, दुई बहिनी छोरी मिलेर पुनीत कार्य गर्दै आएको उनले बताए । साधुसन्तलाई न्यानो कम्बल प्रदान गर्न पाउँदा आफूहरूले पुण्यप्राप्ति गर्ने अवसर मिलेको विजय जयसवालले बताए । उनले साधुसन्त हाम्रो देशको पहिचान भएकाले उनीहरूको आधारभूत आवश्यकतामा हामी सबैले पुण्यदान गर्नुपर्ने जिकिर गरे । साधुसन्त हाम्रो धर्म र संस्कृतिका संवाहक भएकाले धर्मका नाममा गरिने अनेक तडकभडकभन्दा यस्ता साधुसन्तको सम्मानसहित उनीहरूलाई कम्बल वितरण गर्नु पुनीत र प्रशंसनीय कार्य भएको भन्दै जयसवाल परिवारको प्रशंसा गरिएको छ । धर्मपत्नी सोनमती जयसवाल तथा छोरा सुभाष, सुरेन्द्र, विजय, सुरेश र महेश जयसवाल तथा छोरी मायादेवी र अन्जु जयसवालको सहभागितामा उक्त कार्यक्रम गरिएको हो । विसं २००६ मा जन्मनुभएका जयसवालको विसं २०६७ साउन २७ गते निधन भएको थियो ।
बन्दीपुर दुर्घटनामा घाइतेको भरतपुरमा उपचार हुँदै काठमाडौं।तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीमा छ जनाको ज्यान जाने गरी भएको जिप दुर्घटनामा घाइते भएकाहरुको चितवनस्थित भरतपुर शिक्षण अस्पतालमा उपचार भइरहेको छ । बन्दीपुर अस्पतालमा समान्य उपचारपश्चात घाइते आठ जनालाई गएराति नै भरतपुर रिफर गरिएको थियो । घाइतेको अवस्था सामान्य रहेको तनहुँ प्रहरीले जनाएको छ । घाइते हुनेहरुमा बन्दीपुर गाउँपालिका–६ धरमपानीकी २१ वर्षीया जमुना थापा, सोही वडाको हुस्लाङकोटकी ४८ वर्षीया ममकुली गुरुङ, २२ वर्षीया कुमारी गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए । उनकाअनुसार बन्दीपुर–६ भाक्सेकी साते महिने बालिका विविसा थापा, १६ बर्षीया सनिसा थापा १८ बर्षीय कुमार थापा, २० वर्षीय दानबहादुर थापा र २१ वर्षीय विपिन थापा घाइते भएका छन् । घुमाउनेबाट धरमपानी आउँदै गरेको ग १ ज ६५५५ नम्बरको यात्रुवहा जिप सडकबाट अन्दाजी एक सय मिटर तल खस्दा दुर्घटना भएको हो । शुक्रबार राति साढे ८ बजे दुर्घटना भएको हो । दुर्घटनाको कारणबारे नखुलेको प्रहरीले जनाएको छ । चार जनाको घटनास्थलमै मृत्यु भएको हो भने दुई जनाको उपचारका लागि ल्याउँदै गर्दा मृत्यु भएको हो । सवारी चालक फरार रहेको प्रहरीले जानकारी दिएको छ । सवारी धनी नै चालक रहेको बन्दीपुर–६ का वडाध्यक्ष सन्तबहादुर गुरुङले जानकारी दिए ।
नेपाल–बेलायत श्रम वार्ताः समझदारीको मस्यौदा तयार गर्न दुवै पक्ष सहमत काठमाडौं । नेपाल र बेलायतबीच श्रम सम्बन्ध कायम गर्ने विषयमा दुई देशका अधिकारी सहमत भएका छन् । दुवै देशका अधिकारीबीच आज भएको वार्तामा नेपालबाट श्रमिक पठाउने र बेलायतले उनीहरूलाई रोजगारीका अवसर प्रदान गर्ने सहमति भएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । बेलायतको ‘डिपार्टमेन्ट अफ हेल्थ सर्भिस’ र ‘नेशनल हेल्थ सर्भिस’ का प्रतिनिधि र नेपाल सरकारका प्रतिनिधिबीचको वार्ताबाट दुवै देशबीच समझदारी गरी नेपाली श्रमिकलाई बेलायतमा रोजगारीको व्यवस्था गर्ने सहमति भएको श्रम मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले जानकारी दिए । दुवै देशका वार्ता टोलीबीच आगामी मार्चसम्म श्रम समझदारी सम्पन्न गर्ने सहमति भएको छ । सहमतिअनुसार समझदारीको मस्यौदा निर्माणमा दुवै पक्ष जट्नेछन् । समझदारी गरेर नेपालबाट बेलायतको स्वास्थ्य क्षेत्रमा श्रमिक लैजाने विषयलाई छिटो टुङ्गोमा पुर्‍याउने विषयमा बैठकमा सहमति भएको उनले जानकारी दिए ।यद्यपि, नेपाली श्रमिक लैजाने मोडालिटीको बारेमा टुङ्गो भने लागेको छैन । नेपालमा विभिन्न तहका नर्सिङ जनशक्ति रहेका छन् । बेलायतले नेशनल हेल्थ सर्भिसेसअन्तर्गत नेपाली नर्सिङ जनशक्तिलाई रोजगारीको अवसर दिने बताइएको छ । बैठकमा नेपालका तर्फबाट श्रम मन्त्रालयअन्तर्गतको रोजगार व्यवस्थापन महाशाखा प्रमुख राजिव पोखरेल, उपसचिव थानेश्वर भुसाल, वैदेशिक रोजगार विभाग र परराष्ट्र मन्त्रालयका प्रतिनिधिको सहभागिता रहेको थियो । बेलायतका तर्फबाट डिपार्टमेन्ट अफ हेल्थ र नेशनल हेल्थका साथै काठमाडौँस्थित बेलायती दूतावासका प्रतिनिधिको सहभागिता थियो । बैठकमा बेलायतबाट उनीहरू ‘भर्चुअल’ रुपमा सहभागी भएका थिए । बेलायतले दक्षिण एसियाली क्षेत्रबाट स्वास्थ्य क्षेत्रमा एक लाख श्रमिक भित्रयाउने घोषणा गरेको छ । नेपालबाट करिब १० हजार नर्सिङ जनशक्ति लैजाने बेलायतको तयारी छ । नेपाल नर्सिङ सङ्घका अनुसार हालसम्म नेपालमा ६६ हजार नर्स उत्पादन भएका छन् । ती मध्ये २५ हजार विदेशमा छन् । नौ हजार नर्स सरकारी सेवामा रहेको सङ्घको तथ्याङ्क छ । केही निजी अस्पतालमा कार्यरत छन् । वैदेशिक रोजगारीलाई विविधीकरण गर्ने लक्ष्य लिएको सरकारले आकर्षक गन्तव्यको खोजी गरिरहेको छ । यसअघि जापान, इजरायल, मरिससलगायत मुलुकसँग नेपालले विशिष्टकृत क्षमताका श्रमिक पठाउने समझदारी गरिसकेको छ । छिट्टै नेपाली श्रमिक इजरायलको स्वास्थ्य क्षेत्रमा काम गर्न त्यसतर्फ जाँदैछन् ।
आयोगले तोकेभन्दा एमविविएसमा बढी शुल्क लिन नपाउने काठमाडौँ । राष्ट्रिया चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षामा निर्धारित गरेकोभन्दा बढी शुल्क शैक्षिक संस्थाले लिन नपाउने सहमति भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आज राष्ट्रिय चिकित्सा शिक्षा आयोगका पदाधिकारी, त्रिभुवन विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, काठमाडौँ मेडिकल कलेज, नोबेल मेडिकल कलेज, अभिभावक एवं विद्यार्थीबीच भएको छलफलमा आयोगले तोकेकोभन्दा बढी शुल्क लिन नपाउने सहमति भएको हो । मन्त्रालयका सहसचिव डा हरि लम्सालले चिकित्सा शिक्षाको स्नातक तहको एमबीबीएस कार्यक्रममा बढी शुल्क लिने नपाइने सहमति भएको जानकारी दिए । केही कलेजले आयोगले तोकेकोभन्दा बढी शुल्क लिएपछि विद्यार्थी सङ्गठन आन्दोलित भएका थिए । सहमतिअनुसार राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ बमोजिम नै एमबीबीएसको शुल्क मेडिकल कलेजले लिने छन् । विद्यार्थीले सहज र अनुकूल वातावरणमा सिक्ने अवसर सुनिश्चित गर्ने दायित्वलाई मनन गरी विद्यार्थीको छात्रावाससम्बन्धी समस्यालाई सम्बन्धित शिक्षण संस्था तथा अभिभावक एवं विद्यार्थीबीच आपसी छलफल गरी सहमतिमा निरूपण गर्ने र यस कार्यमा सम्बन्धित विश्वविद्यालयले सहजीकरण गर्ने पनि सहमति भएको छ । बैठकमा आगामी शैक्षिक सत्रदेखि लागू हुने गरी चिकित्सा शिक्षा ऐन, २०७५ बमोजिम एमबीबीएस समेतका कार्यक्रमका लागि शुल्क निर्धारण गर्ने क्रममा कूल शुल्कअन्तर्गत विश्वविद्यालय, विषयगत काउन्सिल र शिक्षण संस्थालाई बुझाउनुपर्ने शीर्षकगत रकम निर्धारण गर्न आयोगले तत्काल कार्यारम्भ गर्ने सहमति भएको छ । चिकित्सा शिक्षा ऐन, २०७५ कार्यान्वयनका सन्दर्भमा देखिएका असहजता निरूपणका लागि सम्बन्धित निकाय, विज्ञ तथा अन्य सरोकारका पक्षहरूसँग छलफल एवं परामर्श गरी सो ऐन संशोधनका सम्बन्धमा आयोगले सरकारलाई अविलम्ब राय परामर्श उपलब्ध गराउने र चिकित्सा शिक्षाको विभिन्न शैक्षिक कार्यक्रममा सिट रिक्त रहने विषयलाई मध्यनजर गरी एकीकृत प्रवेश परीक्षा प्रणालीमा चिकित्सा शिक्षा आयोगले आवश्यक संशोधन प्रक्रिया अगाडि बढाउने सहमति भएको मन्त्रालयका सहसचिव डा लम्सालले जानकारी दिए ।
विमानस्थल र एयरलाइन्सको लापरवाहीले यात्रुको उपभोक्ता अधिकार हननः मानवअधिकार आयोग काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले तोकिएको समयमा हवाई उडान नहुनु र उडान ढिलो ‘फ्लाईट डिले’ भएको सूचना समयभित्रै एयरलाइन्सले यात्रुलाई नदिँदा यात्रुको उपभोक्ता अधिकार हनन भएको जनाएको छ । आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका विभिन्न विमानस्थलमा गरेको स्थलगत अवलोकनका क्रममा उडान सेवा विलम्ब हुनु र यात्रुले सास्ती बेहोर्नुमा एयरलाइन्सको लापरवाही रहेको निष्कर्ष निकालेको हो । आयोगको सङ्घ र प्रदेश कार्यालयले तीन महिनाको अवधिमा गरेको प्रारम्भिक अध्ययन प्रतिवेदनमा हवाई यात्रु खासगरी सुत्केरी, बिरामी, महिला, अपाङ्गता भएका व्यक्ति, अत्यावश्यक कामकाजी र ज्येष्ठ नागरिकले बढी सास्ती बेहोर्नुपरेको उल्लेख गरेको छ । तोकिएको समयमा र विना झन्झट यात्रा गर्न पाउने आम उपभोक्ताको अधिकारका सम्बन्धमा सरोकारवाला पक्षलाई जिम्मेबार बनाउन तथा विमान उडानको निर्धारित समयमा ढिलाइ हुन नदिन गरिएको व्यवस्थापनबारे सम्बन्धित विमान सेवा कम्पनीसँग जानकारी लिने जनाएको छ । आज ‘हवाई उडान र नागरिकको उपभोक्ता अधिकार’सम्बन्धी छलफल कार्यक्रममा आयोगका उपसचिव मञ्जु खतिवडाले प्रतिवेदन प्रस्तुत गर्दै यात्रुको उपभोक्ता अधिकार सम्बन्धमा विमानस्थल तथा विमान सेवा कम्पनीमा गरिएको स्थलगत अनुगमनको सार प्रतिवेदन प्रस्तुत गर्दै उडानबारे यात्रुलाई समयमा सही सूचना नदिइँदा यात्रुले सास्ती बेहोर्नुपरेको पाइएको बताए । विमानस्थल, सरोकारवाला यात्रु र एयरलाइन्ससँग गरिएको अवलोकन अध्ययनबाट तथ्याङ्कअनुसार आधा घण्टादेखि आठ घण्टासम्म उडान ढिलो हुने गरेको र एयरलाइन्सले बेलैमा र सही सूचना नदिने गरेका कारण यात्रुले कठिनाई भोग्नुपरेको निष्कर्ष निकालिएको छ । लामो समयसम्म विमानस्थलमा पर्खनुपर्ने कारण यात्रु विमानस्थल परिसरका महङ्गा र गुणस्तरहीन खानेकुरा खान बाध्य भएको प्रतिवेदनमा औँल्याइएको छ । साथै विमान उडान ढिलो हुने देखिएमा यात्रुलाई अग्रिम जानकारी नगराइने गरेको तथा विमान उडानको समय परिवर्तनबारे विमानस्थलमा आइपुगेपछि मात्रै अवगत गराउँदा यात्रु दोहोरो मारमा परेको उल्लेख गरिएको छ । विमानस्थलमा यात्रुको चाप बढे पनि उनीहरुका लागि विश्रामस्थल, खानेपानी, शौचालयलगायतको सुविधा पर्याप्त नहुँदा यात्रुले सास्ती खेप्नुपरेको जनाइएको छ । हिमाली र पहाडी भेगका उडानमा यात्रुले बढी सास्ती बेहोर्नुपरेको पाइएको छ । कार्यक्रममा आयोगका अध्यक्ष तपबहादुर मगरले उपभोक्ताको हकहित संरक्षण र सेवालाई व्यावहारिक र मर्यादित बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराए । उनले विमानस्थल र एयरलाइन्सले समयमा सही सूचना नदिएकाले उपभोक्ताले सास्ती भोग्नुपरेको भन्दै उपभोक्ताको अधिकारप्रति सजक रहन सबैमा अनुरोध गरे । विमानस्थलले आुनिक सुविधा दिन तथा नियामकले प्रभावकारी अनुगमन गरेर सेवालाई प्रभावकारी बनाउन अध्यक्ष मगरले आग्रह गरे । उनले हवाई उडानका यात्रुले भोगिरहेको समस्याबारे कसरी समस्या समाधान गर्न सकिन्छ भनेर सरोकारवालासँग छलफल गरेर छिट्टै सरकारलाई राय सुझावसहितको प्रतिवेदन पेश गर्ने जानकारी दिए। आयोगका सदस्य सूर्यप्रसाद शर्मा ढुङ्गेलले सम्बन्धित निकायले नियम कानूनको प्रभावकारी कार्यान्वयन नगर्दा उपभोक्ता अधिकार हनन् भएको भन्दै उपभोक्ता अधिकारको विषयलाई विषयगतरूपमा गहन अध्ययन गरी सिफारिस गरिने बताए । आयोगका सदस्य मिहिर ठाकुरले विमानस्थलमा हवाई यात्रुले भोगिरहेको समस्याको पहिचान गरी सेवा सुधारमा सरोकारवाला निकायको ध्यानाकर्षण गराउने गरी छिट्टै प्रतिवेदन सरकारलाई सिफारिस गर्ने आयोगले जनाएको छ । विमान कम्पनीले नियमित उडान नगर्दा यात्रुले भोगेको समस्या, सही सूचना नपाउँदा नागरिक उपभोक्तामाथि भएको क्षतिबारे नेपाल सरकारलाई सुझाव दिएर सुधार गरिने आयोगको भनाइ छ ।उपभोक्ता अधिकारकर्मी गोविन्द सुवेदी, निर्मल धिताल, विष्णुप्रसाद तिमल्सिना, बाबुराम पौडेल, भावना भट्टलगायतले विमानस्थलको सेवा चुस्त र प्रभावकारी एवं सबैखाले यात्रुमैत्री बनाएर उपभोक्ता अधिकारको सुनिश्चित गर्न आयोगमार्फत सरकारको ध्यानाकर्षण गराए ।उक्त अध्ययनले विमानस्थलको व्यवस्थापकीय क्षमता सुदृढ हुनुपर्ने तथा परिवर्तित समय र यात्रु चापलाई मध्यनजर गर्दै समय सान्दर्भिक क्षमता सबलीकरणमा ध्यान दिनुपर्ने सुझाएको छ । त्यस्तै विमान सेवा कम्पनी आम यात्रुको सजग र सुरक्षित यात्राको अधिकारका सम्बन्धमा गम्भीर हुनुपर्ने, उडान ढिलो भएको सम्बन्धमा यात्रुलाई अग्रिम जानकारी दिने व्यवस्था गरिनुपर्ने तथा उडान ढिलोका कारण यात्रुलाई पर्ने असरको व्यवस्थापनमा सरोकारवाला निकाय जिम्मेवार हुनुपर्ने सुझाइएको छ ।
माघको पहिलो हप्ताभित्रै निर्वाचनको मिति तोक्नुपर्छः निर्वाचन आयोग काठमाडौँ। निर्वाचन आयोगले सङ्घ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग राष्ट्रियसभा निर्वाचन, मतदाता नामावली सङ्कलन र स्थानीय तह निर्वाचनका विषयमा परामर्श गरेको छ । राजनीतिक दलहरुका निर्वाचन हेर्ने प्रतिनिधिलाई बोलाएर आयोगले राष्ट्रियसभा निर्वाचनका लागि भइरहेको तयारी, मतदाता नामावली सङ्कलन विशेष कार्यक्रम र स्थानीय निर्वाचनका विषयमा दलगत धारणा मागेको हो ।राजनीतिक दलका प्रतिनिधिलाई आयोगले स्थानीय तह निर्वाचनसम्बन्धी संवैधानिक तथा कानूनी व्यवस्था, पदाधिकारीको कार्यकाल गणना, निर्वाचनको मिति तोक्ने सम्बन्धी व्यवस्था, निर्वाचनका लागि आयोगको तयारी र निर्वाचन नभएमा पर्ने प्रभावका बारेमा जानकारी गराएको छ । स्थानीय तहका पदाधिकारीकोे पाँच वर्षे पदावधि आगामी २०७९ साल जेठ ५ गते समाप्त हुने र स्थानीय तहको निर्वाचन सम्पन्न गर्न कम्तीमा ५३ वटा काम गर्नुपर्ने भएकाले कानूनतः १२० दिन आवश्यक पर्ने आयोगले बताएको छ ।आयोगले आगामी माघको पहिलो हप्ताभित्रै निर्वाचनको मिति नतोकिएमा प्राविधिक, व्यवस्थापकीय एवम् व्यवहारिक दृष्टिले निर्वाचन गर्न कठिन हुने हुँदा राजनीतिक दलहरु र सरोकारवालाको ध्यानाकर्षण गराएको थियो । आज आयोजित सो सर्वदलीय बैठकमा राजनीतिक दलका प्रतिनिधिले निर्वाचनका लागि भइरहेको तयारी सान्दर्भिक रहेको जनाउँदै मतदाता नामावलीमा सूचिकृत हुन चाहने नागरिकको मागलाई सम्वोधन गर्नेलगायत निर्वाचनका सबै प्रक्रियालाई आयोगले नेतृत्व गर्न सुझाव पनि दिए । उनीहरुले स्थानीय तहको निर्वाचन यथाशीघ्र तोक्न, निर्वाचनलाई कुनै बहाना बनाएर नटार्न, ‘थ्रेस होल्ड’का विषयमा पुनः विचार गर्न, वैदेशिक रोजगार र प्रवासमा रहेका नागरिकलाई मतदान गर्ने व्यवस्था मिलाउन आयोगलाई सुझाव दिए । परामर्शका क्रममा केही राजनीतिक दलका तर्फबाट सङघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गरेपनि थ्रेस होल्डका कारण राष्ट्रिय दलको मान्यता नपाउँदा स्थानीय तहमा दल विशेषको चुनाव चिह्न प्राप्त नहुने भएकाले कानून संशोधन तथा विगतका निर्वाचनमा आचार संहिता उल्लङ्घनका घटना भएकाले निर्वाचनलाई स्वतन्त्र र स्वच्छ तुल्याउन सुझाव दिइयो । परामर्शका क्रममा साना दलले विधिवतरुपमा दर्ता भएका दलले चुनाव चिह्न पाउँदैनन् भने किन दल दर्ता गर्नुप¥यो भनी प्रश्न गर्दै आयोगको तयारी सही दिशामा रहेको बताए । सङ्घीय संसदबाट नागरिकता विधेयक पारित नभएका कारण उम्मेर पुगेका कतिपय नागरिक मतदान गर्नबाट बञ्चित रहेकाले उनीहरुलाई मतदात सूचिमा सूचिकृत गर्ने व्यवस्था मिलाउन तथा आगामी निर्वाचनलाई मितव्ययी, स्वच्छ र स्वतन्त्र तुल्याउन विद्युतीय भोटिङ मेसिनको प्रयोगका पक्षमा ध्यान पुर्‍याउन आयोगलाई सुझाव दिइयो ।केही राजनीतिक दलका प्रतिनिधिले भने हालको निर्वाचनको विधिलाई नै पुनर्विचार गरी भ्रष्टाचार रोक्न र निर्वाचन खर्च घटाउन तीन तहकै निर्वाचन एकै पटक गर्न उपयुक्त हुने सुझाव पनि त्यस अवसरमा प्रस्तुत भयो । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्वास्थ्यका सबै मापदण्डको पालना गर्दै राष्ट्रियसभाको आसन्न निर्वाचनको तयारी भइरहेको जानकारी दिए । उनले भने, ‘‘सबैतिरबाट सकारात्मक जवाफ आएकाले सरकारसँग औपचारिकरुपमा स्थानीय तहको निर्वाचनको प्रस्ताव गर्नुअघि परामर्शका लागि आजको बैठक बोलाइएको हो । यस विषयमा आयोगले केही दिनभित्रै सरकारलाई परामर्श दिनेछ ।’’ प्रमुख निर्वाचन आयुक्त थपलियाले थ्रेस होल्डसम्बन्धी कानूनी व्यवस्थाका कारण राष्ट्रिय मान्यता प्राप्त नभएकालाई विगतका स्थानीय तहमा दलको चुनाव चिह्न चाहेर पनि दिन नसकिएको बताउँदै आयोगले आगामी ऐनको मस्यौदा तर्जूमा गर्दा यो विषयलाई समेट्ने विश्वास पनि दिलाए। छलफलमा नेपाल कम्प्युनिष्ट पार्टी (एमाले), नेपाली कांग्रेस, नेपाल कम्प्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्प्युनिष्ट पार्टी (एकीकृत समाजवादी), नेपाल सङ्घीय समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, नेपाल कम्प्युनिष्ट पार्टी (माले), जनता समाजवादी पार्टी, नेपाली जनता दल, नेपाल परिवार दल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनता समाजवादी पार्टी, विवेकशील साझा पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका राजनीतिक दलका प्रतिनिधि सहभागि थिए ।
वैदेशिक रोजगारका विषयमा प्रहरीलाई काठमाडौं । सुरक्षित आप्रवासन परियोजना (सामी)द्वारा वैदेशिक रोजगारका बारेमा प्रहरीलाई जानकारी दिने उद्देश्यले आयोजित एकदिने अन्तक्र्रिया कार्यक्रम आज यहाँ सम्पन्न भएको छ । परियोजनाको यो कार्यक्रम देशभरमा ३९ जिल्लाका १५६स्थानीय तहमा आयोजना गरिएको थियो । गएको मङ्सिरसम्ममा ५९ लाख युवा वैदेशिक रोजगारमा रहेर गरिबी निवारणमा मद्दत पुगेको कार्यक्रममा जानकारी दिइएको थियो। देशमा युवा जनशक्तिको बढ्दो आकार, आन्तरिक रोजगारी न्यून, परम्परागत जीवनयापनमा कम रुचि, ऋणको भार बृद्धि, सामाजिक दबाब, घरेलु हिंसा एवं पारिवारिक बेमेल, देशको अस्थिरता, विदेशमा बढ्दो रोजगारीको अवसर तथा पारिश्रमिकमा अन्तर, अन्तर्राष्ट्रिय बजारमा नेपाली कामदारको माग र सूचना तथा जानकारीको सहजताले नेपाली युवा बर्सेनि विदेशिने गरेकोजस्ता विषयमा पनि चर्चा गरिएको थियो । प्रतिवर्ष चार लाख ५० हजारको सङ्ख्यामा विदेशिने युवा गएको मङ्सिर महिनामा पाँच हजार २२४ विदेशिएका थिए । वैदेशिक रोजगारीमा जाने युवा कुनै पनि कारणले ठगीमा परेको उजुरी परेमा पीडितलाई न्याय दिन र पीडकलाई कारबाही गर्नका लागि प्रहरी अधिकृतलाई थप ज्ञान दिलाउनु र सजग गराउनु कार्यक्रमको उद्देश्य रहेको परियोजनाका जिल्ला संयोजक देवेन्द्र चौधरीले जानकारी दिए। सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले ‘वैदेशिक रोजगार ऐन र प्रमुख जिल्ला अधिकारीको भूमिका’ तथा प्रहरी उपरीक्षक जनार्दन जिसीले ‘वैदेशिक रोजगारीलाई शोषणरहित बनाउन नेपाल प्रहरीको भूमिका’ विषयमा कार्यपत्र प्रस्तुत गरेको थिए । वैदेशिक रोजगारीकै लागि जिल्लामा चालु आर्थिक वर्षको पाँच महिनामा चार हजार ८०५ जनाले राहदानी बनाएकामा पुरुष तीन हजार २९०, महिला एक हजार ४४४ र नाबालक ७१ जना छन् ।
दुर्घटनामा एकजनाको मृत्यु काठमाडौं।भैरहवाको बुद्धचोकमा भारतीय नम्बरको ट्रकको ठक्करबाट आज एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीको ओमसतिया–१ बस्ने ४१ वर्षीय जीवराज बस्याल रहेको जिल्ला प्रहरी कार्यायका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए। करिब ११ बजे बुद्धचोकमा युपी ४२ एपी ४३५२ नंको भारतीय ट्रकले लु१८प ५७१६ नंको मोटरसाइकललाइ ठक्कर दिँदा मोटरसाइकल चालक बस्यालको मृत्यु भएको हो । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।
जबर्जस्ती करणी गर्नेलाई जन्मकैद काठमाडौं।जबर्जस्ती करणी गरेको अभियोगमा जिल्ला अदालत रसुवाले एक युवालाई जन्मकैदको फैसला सुनाएको छ । नुवाकोटको किस्पाङ गाउँपालिका–५ अर्चले घर भई रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६ बस्दै आएका २१ वर्षीय यमप्रसाद भट्टराईलाई उक्त सजाय दिइएको हो । जिल्ला अदालतका न्यायाधिश राजेन्द्र नेपालको एकल इजलासले उक्त फैसला सुनाएको तहसिलदार गोपी विश्वकर्माले जानकारी दिए। भट्टराईले ६ वर्षीया बालिकालाई गत वर्ष माघमा जबर्जस्ती करणी गरेका थिए । उनलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा १ र २ तथा उपदफा ३ को (क) बमोजिम दोषी ठहर गरिएको हो । भट्टराईलाई जन्मकैदका साथै रु ६ लाख जरिवाना र पीडितलाई रु ५० हजार क्षतिपूर्ति भराउने फैसला गरिएको छ ।
यी लक्षणहरूलाई बेवास्ता नगर्नुहोस्, हुन सक्छ ओमिक्रोन ! काठमाडौं । पछिल्लो समय विश्वभर कोरोना भाइरसको नयाँ भरियन्ट ओमिक्रोनको संक्रमण दिनानुदिन बढ्दै गइरहेको छ। ओमिक्रोन अन्य भेरियन्टको तुलनामा तीव्र गतिमा फैलिने गरेको पाइन्छ । विश्व स्वास्थ्य संगठनले पहिलो पटक दक्षिण अफ्रिकामा यो भाइरस फेला पारेको थियो । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन अफ्रिका, युरोप तथा एसिया लगायतका मुलुकहरुमा क्रमिक रुपमा फैलिँदै गइरहेको र नेपालमा समेत उक्त भेरियन्ट फैलिन सक्ने जोखिमलाई दृष्टिगत गरी सरकारी कार्यालय, शिक्षण संस्था, विद्यालय, उद्योग प्रतिष्ठान, निजी क्षेत्र लगायतमा अनिवार्य रुपमा मास्क, स्यानिटाइजर र स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्ने निर्णय गरेको छ । ओमिक्रोन भेरियन्ट विशेष गरी खोप नलगाएका व्यक्तिहरूका लागि ‘खतरनाक भाइरस’ भएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयसस उल्लेख गरेका छन् । दक्षिण अफ्रिकामा ओमिक्रोन संक्रमितहरुमा गरिएको एक अनुसन्धानमा खोप लगाएकाहरुमा भन्दा खोप नलगाएकाहरुमा संक्रमण बढी भएको देखिएको छ । तर पनि केही देशमा पूर्ण खोप लगाएका मानिसमा पनि ओमिक्रोन सङ्क्रमण पुष्टि भएको छ। उनीहरूमा देखिएका लक्षणहरू सामान्य छन्। विश्व स्वास्थ्य सङ्गठनले ओमिक्रोनबाट सङ्क्रमण हुँदा देखिने लक्षणहरू अन्य भेरिअन्टको सन्दर्भमा भन्दा फरक नभएको जनाएको छ। यद्यपि खोकी र ज्वरो आउनु तथा स्वाद र गन्ध हराउनु यो भेरिअन्टसँग सम्बन्धित लक्षण हुन सक्छन्। ओमिक्रोनको लक्षण कति चाँडो देखा पर्छ ? युएस सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका अनुसार भाइरसको सम्पर्कमा आएपछि २ देखि १४ दिनभित्रमा व्यक्तिमा कोरोनाको लक्षण देखा पर्न सक्छ । यदि कसैमा लक्षण देखिएमा तुरुन्तै जाँच गराउनुपर्छ । कहिले काहीँ एकै समयमा, केही व्यक्तिहरूमा लक्षणहरू नदेखाउन सक्छन्, तर तिनीहरूमा भाइरस फैलिरहेका हुन सक्छ । त्यसैले संक्रमितसंग नजिक भएको भए आफै सावधानी अपनाउनु पर्छ । यस्ता लक्षण देखिए सावधान रहनुहोस् -छाला, नङ र ओठका रंग पहेँलो, खैरो वा नीलो भए कोरोना परिक्षण गराउनु होस् । रगतमा अक्सिजनको कमी भएमा यस्तो लक्षण देखा पर्ने गर्दछ । यस्ता लक्षण देखिएमा परीक्षण गराउनु निकै जरुरी हुन्छ । -कोरोनाका मुख्य लक्षणहरुमा रुघाखोकी, खोकी, घाँटी दुख्ने, चिलाउने, ज्वरो आउने, सास फेर्न गाह्रो हुने, टाउको दुख्ने, मांसपेशी दुख्ने, टाउको दुख्ने, गन्ध र स्वाद नमिल्ने जस्ता लक्षण देखिन्छन् । -साथै कब्जियत, सुत्दा पसिना आउनु, आँखा सुन्निने र छालाको कुनै भागमा दाग लाग्नु पनि ओमिक्रोनका लक्षण हुन् ।
कटुवा पेस्तोलसहित २२ वर्षीय सविर मियाँ पक्राउ काठमाडौं।जिल्ला प्रहरी कार्यालय सुनसरीले सुनसरीको इनरुवा नगरपालिका–३ बाट हतियारसहित एक जनालाई पक्रेको छ । प्रहरी जाँचका क्रममा इनरुवा नगरपालिका९३ महेन्द्रचोकबाट हरिनगरा गाउँपालिका९७ घुस्कीका २२ वर्षीय सविर मियाँलाई बुधबार साँझ पक्रेको हो । मियाँको साथबाट एक थान कटुवा पेस्तोल र एक राउण्ड गोली बरामद गरेको प्रहरीले जनाएको छ । मियाँमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
ट्याक्टरको ट्रली पल्टिंदा एकको मृत्यु सुनसरी । सुनसरीमा ट्याक्टरको ट्रली पल्टिंदा एक जनाको मृत्यु भएको छ । सुनसरी को कोशी गाउँपालिका-३ कोशीटप्पुमा उखु लोड गर्ने क्रममा ट्याक्टरको ट्रली पल्टिएर च्यापिंदा स्थानीय ४० वर्षीय कुमार उराउको मृत्यु भएको हो । हिंजो साँझ ६ बजेतिर उखु लोड गरेर डोरीले बाँध्ने क्रममा ट्रली पल्टिएर उराउ च्यापिएका थिए । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
अत्यावश्यक नभई जोखिम मुलुकमा भ्रमण नगर्न अध्यागमन विभागको अनुरोध काठमाडौं। अध्यागमन विभागले नयाँ भेरियन्ट भएका मुलुमा नेपालबाट यात्रा गर्ने योजना बनाएका व्यक्तिलाई अत्यावश्यक अवस्थाबाहेक यात्रा नगर्न अनुरोध गरेको छ । विभागले सरकारको निर्णयानुसार कोभिड–१९ को सङ्क्रमण विभिन्न मुलुकमा फैलिरहेका सन्दर्भमा त्यसको रोकथाम गर्ने उद्देश्यले विभागले आज एक सूचना जारी गरी अर्को व्यवस्था नभएसम्मका लागि सचेत हुने यसरी अनुरोध गरेको हो । आमिक्रोन देखिएका मुलुक (दक्षिण अफ्रिका, वोत्स्वाना, जिम्बाब्बे, नामिविया, लेसोथो, इस्वाटिनी, मोजाम्बिक, मलावी, र हङकङ) बाट आउने वा ती मुलुकलाई ट्रान्जिट बनाई नेपाल आउने यात्रुलाई मङ्सिर १६ देखि नेपाल प्रवेशमा रोक लगाइएको निर्णयलाई यथावत् राखिएको पनि विभागले जारी गरेको सूचनामा उल्लेख छ । गएको तीन हप्ताभित्र ती मुलुकको भ्रमण गरेका यात्रुका हकमा समेत उक्त निर्णय लागू हुने जनाइएको छ । विभागले तोकिएका ती नौ देश र अन्य कोरोनाको उच्च जोखिम भएका मुलुकबाट नेपाल आउने नेपाली नागरिक, कूटनीतिक तथा अफिसियल पासपोर्टबाहेक वा आवासीय भिसा प्राप्त गरेका विदेशी नागरिकको हकमा पनि विशेष व्यवस्था गरेको छ । पूर्ण खोप लगाएको १४ दिन पुगेको, बोडिङ पास जारी हुनुभन्दा ७२ घण्टा अगाडिको पिसिआर रिपोर्ट नेगेटिभ भएका नेपाली नागरिक र अन्यको हकमा कोभिड–१९सँग मिल्दोजुल्दो लक्षण नदेखिएका अवस्थामा घरमै १० दिन क्वारेन्टिनमा बस्नेगरी अनुमति दिने विभागले जनाएको छ । विभागका निर्देशक प्रकाशचन्द्र अधिकारीद्वारा जारी विज्ञप्तिमा खोपको मात्रा पूरा नभएका वा खोपको मात्रा पूरा गरी १४ दिन नपुगेका नेपाली नागरिकको प्रवेश बिन्दुमा एन्टिजेन परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएमा संस्थागत आइसोलसनमा पठाइने र रिपोर्ट नेगेटिभ देखिएमा भने घरमै १० दिन क्वारेन्टिनमा बस्ने गरी प्रवेश अनुमति दिइनेछ ।यस्तै खोपको मात्रा पूरा नगरेका वा खोप लगाएको १४ दिन नपुगेका कूटनीतिक, अफिसियल पासपोर्टबाहेक तथा आवासीय भिसा प्राप्त गरेका विदेशीको हकमा प्रवेश बिन्दुमा एन्टिजेन परीक्षणमा रिपोर्ट पोजेटिभ आएमा संस्थागत आइसोलेशन वा कूटनीतिक नियोगको जिम्मेवारीमा होम आइसोलेशनमा पठाउने र परीक्षण रिपोर्ट नेगेटिभ आएमा १० दिन होटल वा कूटनीतिक नियोगको जिम्मेवारीमा होम क्वारेन्टिनमा बस्नेगरी प्रवेश अनुमति दिने जनाइएको छ । उक्त व्यवस्थाबाहेकको हकमा भने विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुको व्यवस्थापनसम्बन्धी आदेश २०८७ को आधारमा विभागबाट गएको असोज ८ गते जारी भएको सूचनाबमोजिम हुने जनाइएको छ । ओमिक्रोन भेरियन्ट देखिएका मुलुकबाट आएका यात्रुको हकमा मात्रै क्वारेन्टिन र आइसोलेशनको व्यवस्था लागू हुने विभागले स्पष्ट पारेको छ ।
‘विनादर्ताका अनलाइन र युटुबलाई नियन्त्रण गरिन्छ’ काठमाडौं। नेपालमा पछिल्लो समय विनादर्ता सञ्चालन हुने अनलाइन तथा युटुबले गलत समाचार सम्प्रेषण गर्नेक्रम बढेकाले नियमन गर्न आवश्यक रहेको सरोकारवालाले बताएका छन् । सोलुखुम्बुमा सम्पन्न पत्रकार आचारसंहिता जागरण र मिडियाप्रतिको जनगुनासो सुनुवाइसम्बन्धी एकदिने कार्यक्रममा बोल्ने वक्ताले यस्तो बताएका हुन् । पत्रकार महासङ्घ सोलुखुम्बु शाखाका कार्यवाहाक अध्यक्ष भोजराज कार्कीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पछिल्लो समयमा विनादर्ता सञ्चालन हने युटुब र अनलाइनका कारण समस्या सिर्जना भएको भन्दै यसलाई नियन्त्रण गर्नका लागि काउन्सिलले गृहकार्य गरिरहेको बताए। पैसा कमाउने आशमा मानिसको चरित्र हत्या भइरहेकाले यस्ता युटुब च्यानललाई व्यवस्थित तथा नियमनका लागि सरकारले पनि ठोस योजना ल्याउनुपर्ने उनको भनाइ छ । प्रेस काउन्सिलमा हालसम्म तीन हजार दुई अनलाइन, एक हजार ३०० रेडियो, ४०० छापा र दुई टेलिभिजन सञ्चालनका लागि दर्ता भएको तथ्याङ्क रहेको छ । काउन्सिलका सदस्य ठाकुर बेलवासेले पत्रकारको अदालत काउन्सिल भएको भन्दै कुनै पनि गुनासो तथा उजुरी भए निर्धक्क भएर उजुरी गर्न सकिने बताए । युटुब च्यानलका कारण पछिल्लो समय नेपालको पत्रकारिता धरासायी बन्दै गएको भन्दै उनले स्वच्छ पत्रकारितालाई जोड दिन आग्रह गरे । पत्रकारिता पेशासँग नभई प्रतिष्ठासँग जोडिएको उनको भनाइ छ । यस्तै कार्यक्रमलाई सम्बोधन गर्दे सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीले जिल्लामा व्यावसायिक पत्रकारिताले निरन्तरता पाएको भए पनि नेपालको अवस्था कमजोर रहेको उनको भनाइ छ । पत्रकारले नागरिकको आवाज बोल्नुपर्ने भए पनि अहिले क्यामेरा देख्दा नागरिक भाग्नुपर्ने अवस्था सिर्जना भएकाले नियनकारी निकायको क्रियाशीलता बढ्नुपर्ने उनको भनाइ छ ।यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक कवित कट्वालले पत्रकार आफैँ अनुसन्धानकर्ता बन्दा समस्या सिर्जना हुने गरेको बताए । प्रहरीले अनुसन्धान गरिरहेका विषयलाई मिडियामा ल्याउने तथा स्रोतको संरक्षण नगर्दा अपराध अनुसन्धानमा समेत असर पुग्ने गरेकाले यसतर्फ नियमनकारी निकायको ध्यान जानुपर्ने बताए ।यस्तै नेपाल पत्रकार महासङ्घ सोलुखुम्बुका निवर्तमान अध्यक्ष मनोजकुमार श्रेष्ठले २०६१ सालदेखि व्यावसायिक पत्रकारिताको सुरुआत भएको भन्दै पत्रकार आचरसंहिताको पूर्णरुपमा पालना भइरहेको बताए । कार्यक्रममा पत्रकार महासङ्घ सोलुखुम्बुका संस्थापक अध्यक्ष नारायणकुमार श्रेष्ठ, नेपाल पत्रकार महासङ्घ ओखलढुङ्गाका अध्यक्ष लाक्पा जि शेर्पा, सशस्त्र प्रहरी बल सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक दिनेश शर्मालगायत विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधिसहित जिल्लाका क्रियाशील सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।
चौबीसौँ भूकम्प सुरक्षा दिवसको कार्यक्रम पाटन दरबार क्षेत्रमा काठमाडौं। विसं १९९० माघ २ गते दिउँसो २ः२४ बजे भूकम्प गएको सम्झनामा आगामी माघ २ गते विभिन्न कार्यक्रम गरी देशभर २४ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ । ‘भूकम्पीय सचेतना, सुरक्षित संरचना’ नाराका साथ दिवस मनाउन लागिएको आज सहरी विकास तथा भवन निर्माण विभागमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । विसं २०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रूपमा मनाउन थालिएको हो । भूकम्पका बारेमा जनचेतना जगाउने उद्देश्यले सरकारले यो दिवस मनाउन शुरु गरेको थियो । यो दिवस मनाउन थालेपछि विसं २०७२ वैशाख १२ गते शनिबार ११ः५६ बजे गोरखाको बारपाक केन्द्रविन्दु भएको भूकम्पले करिब नौ हजार मानिसको ज्यान लियो । आठ लाखभन्दा बढी निजी घर ध्वस्त भए । नौ सयभन्दा बढी पुरातात्विक सम्पदा भत्किए । सिन्धुपाल्चोक, दोलखा, गोरखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, नुवाकोट, रसुवा, काठमाडौँ, ललितपुर र भक्तपुरमा भूकम्पले बढी क्षति पुर्‍यायो । अन्य १८ जिल्लामा आंशिक क्षति पुग्यो । छ वर्षअघिको भूकम्पले क्षति गरेका संरचनाको पुनःनिर्माण जारी छ । पुनःनिर्माण गर्न स्थापना भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको छ वर्षे अवधि सकिए पनि पुनःनिर्माण भने सकिएको छैन । सम्बन्धित विभागबाट क्षति पुगेका संरचनाको पुनःनिर्माण जारी छ । भूकम्पले भवन भत्किएर क्षति नपुगोस् भनी जनचेतना जगाउन भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो । पत्रकार सम्मेलनमा विभागका महानिर्देशक पद्मकुमार मैनालीले पश्चिम नेपालमा ५०० वर्षअघिदेखि ठूलो भूकम्प नगई शक्ति सञ्चय भएकाले त्यस क्षेत्रमा बढी चेतना जगाउन आवश्यक भएकामा जोड दिए । दाङबाट पश्चिमका जिल्लामा निर्माण हुने संरचनामा विशेष ध्यान दिएर विभागले काम गरिरहेको उनले जानकारी दिए । भूकम्प सुरक्षा दिवस मूल समारोह समितिअन्तर्गतको प्रचारप्रसार उपसमितिका संयोजकसमेत रहेका महानिर्देशक मैनालीले तीनै तहका सरकार मानिसको जीवन रक्षाका लागि जनचेतना जगाउन लागिपरेको बताए । चेतना जगाउने उद्देश्यअनुरूप विसं २०५७ देखि नै विभागले घर निर्माणमा संलग्न हुने प्राविधिकलाई तालिम दिन सुरु गरेको छ । भूकम्पले भवनमै क्षति पुग्ने र त्यसले मानिसको जीवन लिने भएकाले दिवसका माध्यमबाट चेतना जगाउन विभाग लागिपरेको उपमहानिर्देशक रामचन्द्र दङ्गालले बताए । दिवसको मूल कार्यक्रम यस वर्ष पाटन दरबार क्षेत्रमा गरिने भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव भोजराज खतिवडाले सरकारले कोरोनाको नयाँ स्वरूप ओमिक्रोनबाट बच्न जारी स्वास्थ्य मापदण्ड पूरा गरेर पाटन दरबार क्षेत्रमा कार्यक्रम गर्ने तयारी गरिएको जानकारी दिए । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख मोनिका झाले ४० वर्ष अघिदेखिका भूकम्पका अभिलेख रहेको जानकारी दिए । यसको अध्ययन अनुसन्धानबाट काम गरिरहेको जानकारी उनले दिए । उपसमितिको सदस्य सचिवसमेत रहनुभएका राष्ट्रिय भूकम्प प्रविधि समाज नेपाल (एनसेट) का निर्देशक डा गणेश जिमीले दिवसको तयारी अन्तिम चरणमा पुगेको बताए । यस अवसरमा पुस १५ गतेदेखि नै विभिन्न चेतनामूलक कार्यक्रम सुरु भइसकेको छ । आगामी माघ १५ गतेसम्म दिवसका कार्यक्रम देशभर गरिने जनाइएको छ ।
श्रीमतीको दुर्घटनामा मृत्यु भएको झुटो दावी गरेर जीवन बिमावापत ५७ करोड रुपैयाँ ठगी काठमाडौं। एक व्यक्तिले आफ्नी श्रीमतीको दुर्घटनामा मृत्यु भएको दावी गरेर बिमा कम्पनीसँग श्रीमतीको जीवन बिमावापत ५७ करोड रुपैयाँ ठगी गरेको पाइएको छ । ती व्यक्तिले यो रकम पनि पाइसकेका थिए तर घटनाको ५ वर्षपछि उनको कर्तुतको खुलासा भएको छ । उनले श्रीमतीले झुक्किएर आफैंमाथि गोली चलाएको बताएका थिए । उनको यो झुटो कहानीलाई बिमा कम्पनीदेखि पुलिसले समेत पत्याएका थिए । यी आरोपी व्यक्ति अमेरिकाको पेन्सलभेनियाका हुन् । पुलिसको जाँचमा घटनाको ५ वर्षपछि यी आरोपी व्यक्तिले नै आफ्नी श्रीमतीको हत्या गरेको खुलासा भएको छ । डेलीमेलका अनुसार आरोपी ६७ वर्षका लरेन्स रुडोल्फमाथि २०१६ मा आफ्नी पत्नी बियांकाको हत्या गरेको आरोप लगाइएको छ । लरेन्सले त्यतिबेला पत्नीले झुक्किएर गोली चलाउँदा आफैंलाई लागेको बताएका थिए । उनको दावीअनुसार त्यतिबेला उनीहरु ‘अफ्रिकन सफारी’को लागि जाम्बिया गएका थिए । त्यहाँबाट उनीहरु फर्किने दिन उनकी पत्नीले झुक्किएर गोली चलाउँदा उनको मृत्यु भएको थियो । जाम्बियाको पुलिसले पनि गोली चलेको घटनालाई दुर्घटना मालेको थियो र लरेन्सको कहानीमा विश्वास गरेको थियो । यी दुईको १९८२ मा बिहे भएको थियो । बिहेपछि नै उनीहरु लगातार सफारीमा गइरहन्थे । बियांकाको मृत्यु भएपछि जाम्बिया पुलिसले त लरेन्सको कहानी पत्यायो तर २०१६ मै बियांकाका एक साथीले अमेरिकाको संघीय जाँच ब्युरो एफबीआइलाई आफूलाई यो मृत्युमा सन्देह भएको बताएका थिए । त्यसपछि एफबीआइले यो घटनाको अनुसन्धान थालेको थियो । एफबीआइको अनुसन्धानमा बियांकाको मृत्युपछि लरेन्सले ७ अलग अलग बिमा कम्पनीबाट बियांकाको जीवन बिमावापत करिब ४.८ मिलियन डलर जुटाएको खुलासा भयो । यही बीच हालै उनको कर्तुतको पर्दाफाश भयो जहाँ उनले बिमाको पैसाकै लागि पत्नीको हत्या गरेको खुलासा भयो । एफबीआइका अनुसार पत्नीको अन्तिम संस्कारपछि लरेन्सले प्लेन टिकट बुक गरेका थिए तर पछि रद्द गरे । अनि उनले एक महिलाको नाममा अर्को टिकट बुक गरे र ती महिलासँग लस भेगासमा भेटे । यी महिलासँग उनले पत्नीको मृत्युभन्दा पहिले मेक्सिकोमा भेटेको पनि खुलासा भयो । एफबीआइले अनुसन्धानको क्रममा जाम्बियामा रहेका टुर गाइडसँग पनि भेटेको थियो । गाइडले लरेन्सले अधिकारीहरुलाई पैसा दिएर पत्नीको अन्तिम संस्कार गरेको खुलासा गरे । अर्कोतर्फ कोलोराडोमा रहेका एक मेडिकल विशेषज्ञले बियांकाको फोटो देखेपछि उनले आफूमाथि गोली चलाउनु कठिन भएको बताए । यो सबै खुलासापछि आरोपीलाई कोलोराडोको डेनेभरबाट पक्राउ गरिएको छ । उनले आफूमाथि लगाइएको आरोप अस्वीकार गरेका छन् । अब यस विषयमा अदालतमा सुनुवाइ हुनेछ ।
ओमिक्रोन बढी सङ्क्रामकः खोप लगाउन र स्वास्थ्य मापदण्ड पालन गर्न आग्रह काठमाडौं।  कोरोना भाइरस सङ्क्रमणविरुद्धको खोप नलगाउनेहरुमा यसको जोखिम बढी हुने चिकित्सकहरुले बताएका छन् । खोप नलगाउने व्यक्तिमा तत्काल रोगको सङ्क्रमण हुनसक्ने उनीहरुको दाबी छ । भरतपुर अस्पतालका अध्यक्ष फिजिसियन डा भोजराज अधिकारीले खोप (भ्याक्सिन) नलगाएको समुदायमा कोरोना भाइरस सङ्क्रमणको नयाँ भेरियन्ट ओमिक्रोनको बढी खतरा हुने बताए। अहिलेसम्मको अध्ययनले खोप लगाएको तर ओमिक्रोनबाट सङ्क्रमित भएका व्यक्तिमा जटिल समस्या अत्यन्त कम देखिएको छ भने खोप नलगाएको व्यक्तिमा यसको जोखिम बढी हुने उनले बताए । चिकित्सक अधिकारीले भने, “कोरोना भाइरस सङ्क्रमणको नयाँ भेरियन्ट ओमिक्रोन समुदायमा छिटोछिटो फैलिएको छ ।” २४ नोभेम्बरमा दक्षिण अफ्रिकाबाट पत्ता लागेको कोभिडको तेस्रो म्युटेसन भेरियन्ट ओमिक्रोन भएको भन्दै उनले कुनै पनि भाइरस स्वरुपपरिवर्तन अथवा म्युटेसन हुँदा यो बढी गम्भीर भएर जानसक्छ अथवा सामान्य भाइरस बनेर हराएर जान पनि सक्छ भने । कोभिडमा भएका अहिलेसम्मका म्युटेसन हेर्दा तुरुन्त हराउने प्रकृतिको नभइ स्थिर पान्डेमिकको रुपमा बदलिइरहेर दुःख दिइरहन सक्ने देखिएको उनको भनाइ छ । ओमिक्रोन सबैभन्दा धेरै म्युटेसन भएर देखिएकाले यसको सर्ने तरिका, गम्भीरता र भ्याक्सिनको प्रभाव फरक हुनसक्ने देखिएको उनले बताए । उनले भने “अहिलेसम्मको तथ्याङ्कले यो धेरै छिटो फैलन सक्ने, श्वासप्रस्वासको माथिल्लो अङ्ग नाक र स्वाशनलीमा बढी रहने तर फोक्सोको भित्री भागसम्म कम पुग्ने हुनाले गम्भीर निमोनिया कम हुने गर्दछ ।” यसले गर्दा अस्पताल भर्ना धेरै नहुने तर धेरै जनालाई एकैचोटी सङ्क्रमित गर्नसक्ने देखिएको चिकित्सक अधिकारीको भनाइ छ । खोपले समेत कम सुरक्षा दिनसक्ने भन्दै उनले अगाडि थपे “खोपले काम गर्ने भाइरसको प्रोटिनमा म्युटेसन भएकाले खोपले कम सुरक्षा दिनसक्ने खतरा देखिन्छ ।” पहिलेको भेरियन्टभन्दा सर्ने अवधि औसत तीन दिन देखिएको बताउँदै उनले भने “यो सर्ने समय पहिलेको भेरियन्टभन्दा चाँडो हो ।” भरतपुर सामुदायिक अस्पतालका फिजिसियन डा महेन्द्र अग्रहरीले खोप लगाउनेलाई भन्दा नलगाएका व्यक्तिलाई यसले छिटो असर गर्ने बताए । ज्वरो आउने, नाकबाट हल्का पानी बग्ने, घाँटी खसखसाउने, सुख्खा खोकी लाग्ने, ज्यान दुख्ने, थाक्ने जस्ता लक्षण यो भेरियन्टमा देखिने गरेको उनको भनाइ छ । चिकित्सक अग्रहरीले भने, “मौसमी फ्लू जस्तो मानेर मानिस परीक्षण नगरी आफ्नो दैनिकी गरिरहे धेरैलाई सार्न सक्छन् ।” अहिले दैनिक १० प्रतिशतका दरले बिरामी बढ्दै गएको बताउँदै उनले यो रोग छिटो सर्ने भएकाले स्वास्थ्य मापदण्डपालना गर्नसमेत सबैलाई आग्रह गरे । उनले भने, “पहिलाको जस्तो लक्ष्यण नभएकाले कोभिड नदेखिए पनि पिसिआर नेगेटिभ आउँदैमा ओमिक्रोन होइन भन्न सकिने अवस्था छैन ।” जिल्लामा हालसम्म ओमिक्रोनको परीक्षण गर्ने प्रयोगशाला नरहेको बताउँदै उनले छिट्टै यस्तो प्रयोगशाला स्थापना गर्नुपर्नेमा जोड दिए । कोभिड विरुद्धको खोप लगाउन छुटेकालाई लगाउन आग्रह गर्दै चिकित्सक अग्रहरीले भने, “यसले मधुमेह, उच्च रक्तचाप र मिर्गौलामा समस्या भएकालाई बढी जोखिम बनाउने हुँदा तत्काल खोप लगाउन आग्रह गर्दछु ।”
ओमिक्रोन फैलिएको भन्दै बागलुङ नगरपालिकाका सबै विद्यालय बन्द काठमाडौं। कोरोनाको तेस्रो भेरियन्ट (ओमिक्रोन) फैलिएको भन्दै बागलुङ नगरपालिकाले पुस २८ गतेदेखि माघ १५ गते सम्म नगरपालिकाका सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको छ । बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले मङ्गलबार एक सूचना जारी गर्दै नगरपालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्न अनुरोध गरेका हुन्। पोखरेलले पूर्व निर्धारित परीक्षा पूर्ण सुरक्षा मापदण्ड पालना गरेर सञ्चालन गर्न आग्रह गरेका छन् ।
म्याग्दीमा तत्काल विद्यालय बन्द नगर्ने निर्णय काठमाडौं। कोरोना सङ्क्रमणलाई रोकथाम र नियन्त्रण गर्ने प्रयोजनका लागि म्याग्दीमा तत्काल शैक्षिक संस्था बन्द नहुने भएका छन् । कोरोनाको सङ्क्रमणदर बढ्न थालेपछि सीसीएमसीसीको सिफारिसमा शिक्षा मन्त्रालयले माघ १५ गतेसम्मका लागि देशभरका विद्यालय बन्द गराउने निर्णय गरेको थियो । आज सदरमुकाम बेनीमा बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले कारोना रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य सुरक्षा सावधानीलाई कडाइका साथ लागू गर्ने तर तत्काल जिल्लामा शैक्षिक संस्था बन्द नगर्ने निर्णय गरेको हो । मन्त्रालयले वार्षिक बिदामा समायोजन हुने गरी शैक्षिक संस्था बन्द गर्न भने पनि जिल्लामा रहेका स्थानीय तहका जनप्रतिनिधि र जिल्लास्थित सरोकारवालाको सल्लाहबमोजिम जिल्लामा कोभिडको सङ्क्रमण भयावह र डरलाग्दो अवस्थामा नपुगेकाले तत्काल विद्यालय बन्द नगर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी चीरञ्जीवी रानाले बताए । सीसीएमसीका संयोजकसमेत रहेका प्रजिअ रानाले स्मार्ट लकडाउनलाई कार्यान्वयन गर्ने र सोही कार्यविधिबमोजिम कोरोना सङ्क्रमणको अवस्था हेरेर बन्द तथा लकडाउनको निर्णय गरिने जानकारी दिए। बैठकले स्वास्थ्य सुरक्षाका मापदण्डलाई कडाइका साथ कार्यान्वयन गर्ने, खोप अभियानलाई व्यापक बनाउने, स्वास्थ्य पूर्वाधार र सामग्रीसँगै जनशक्तिलाई तयारी अवस्थामा राख्ने निर्णय गरेको छ । जिल्लाव्यापी रूपमा कोरोना सङ्क्रमणबाट बच्च र बचाउन तपाईंको मास्क खोइ ? अभियान चलाउने, सञ्चार माध्ययममार्फत प्रचारप्रसार गर्ने, सामाजिक र भौतिक दूरी कायम गर्न लगाउने, २५ जनाभन्दा बढी मानिस जम्मा भएर कुनै पनि सार्वजनिक कार्यक्रम, मेला, महोत्सव तथा भेला नगर्ने र गर्न रोक लगाउने निर्णय गरिएको छ । स्मार्ट लकडाउन, २०७८ मा भएको सूचकअनुसार जोखिम मूल्याङ्कन र लकडाउनको तह विश्लेषण गरी स्थानीय तहले कार्यान्वयन गर्ने र सीसीएमसीलाई नियमितरूपमा जानकारी गराउने निर्णय भएको छ । म्याग्दीमा आजसम्म ११ कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् ।
माघी पर्वमा तीन दिन सार्वजनिक बिदा काठमाडौं। कैलालीको कैलालरी गाउँपालिकाले माघी पर्वका अवसरमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । माघीलाई नयाँ वर्षका रुपमा मनाउने थारू समुदायलाई लक्षित गरेर कैलारी गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिका सूचना अधिकारी यगम कलले बताए । ‘यो गाउँपालिकामा थारू बाहुल्यता रहेको छ,’ उनले भने, ‘थारू समुदायले माघीसँगै १ माघदेखि नयाँ वर्षका रुपमा मनाउने हुँदा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको हो ।’ उनका अनुसार ३० पुस देखि २ माघसम्म सार्वजनिक बिदा दिइएको छ । कैलारी गाउँपालिकाले गत वर्ष पनि तीन दिन सार्वजनिक बिदा दिएको थियो ।
चिडियाखाना अवलोकनमा स्वास्थ्यमापदण्ड अनिवार्य काठमाडौं। पछिल्लो समय कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढदै गएपछि जावलाखेलस्थित सदर चिडियाखाना अवलोकन गर्न आउने अवलोकनकर्ताले अनिवार्य रुपमा सरकारले जारी गरेको स्वास्थ्यमापदण्ड पालना गर्नुपर्ने भएको छ । चिडियाखानाका सूचना अधिकारी लीना चालिसेका अनुसार पछिल्लो समय कोरोनाको त्रास बढदै गएकाले स्वास्थ्यसुरक्षा मापदण्ड अपनाउन अनिवार्य गरिएको हो । अवलोकनकर्ताले अब मास्क अनिवार्य, चिडियाखानाभित्र बसेर खान र जीवजनावरलाई खुवाउन छुन नपाउने, सेनिटाईजर अनिवार्य प्रयोग गर्नुपर्ने, आफू गएको समूहसँग मात्रै घुलमिल हुन मिल्ने जस्ता मापदण्डको पालना गर्नुपर्ने छ । आगामी दिनमा कोरोना बढ्दै गए थप स्वास्थ्य सुरक्षा पालना गरिनेछ । स्वास्थ्यमापदण्ड पालना गर्दै यसअघि झै हरेक दिन बिहान १० देखि साँझ ५ बजेसम्म अवलोकनका लागि सञ्चालन हुनेगरी नै मापदण्ड तयार गरिएको छ । हाल चिडियाखानामा ११० प्रजातिका एक हजार ६८ जीवजनावर छन् । जहाँ मुख्य आकर्षणको रूपमा बाघ, भालु, चितुवा, रेडपाण्डा (रातो हाब्रे) छन् । ती प्रजातिमध्ये ३३ स्तनधारी, ६१ चरा, आठ उभयचर र १७ प्रजातिका माछा छन् । नेपालमा लोप हुनलागेको भनी सूचीकृत ३८ दुर्लभ वन्यजन्तुमध्ये १५ लाई चिडियाखानाले संरक्षण गरी प्रदर्शनीमा राखेको छ । उक्त स्थानमा अवलोकनका गर्न विदेशीलाई रु १०००, सार्क राष्ट्रका पाहुनालाई रु ५००, नेपालीलाई रु २००, विद्यार्थीलाई रु १३५ र ज्येष्ठ नागरिकका लागि रु ९० शुल्क निर्धारण गरिएको छ । तत्कालीन राणा प्रधानमन्त्री श्री ३ जुद्धशम्शेर जङ्गबहादुर राणाले सन् १९३२ मा निजी चिडियाखानाको रूपमा स्थापना गरेका हुन्। विसं २०११ बाट सर्वसाधरणका लागि खुल्ला गरिएको चिडियाखाना विसं २०५२ बाट यसको व्यवस्थापनको जिम्मेवारी ३० वर्षका लागि नेपाल सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोषलाई हस्तान्तरण गरेको हो ।
कम्पनी टाट पल्टिएपछि संसारकै महंगो घर कौडीको भाउमा लिलामी, हेर्नुहोस् भित्रका तस्वीरहरु काठमाडौं। विश्वकै सबैभन्दा महंगो घर मानिएको अमेरिकाको लस एन्जल्समा रहेको ‘द वन’ नामको घरलाई लिलामीमा राखिएको छ । १० वर्षअघि बनाउन सुरु गरिएको यो घर अझै बनाएर पूरा भइसकेको छैन । यो घर बनाएर सकिएपछि यसको मूल्य ५०० मिलियन डलर (५९ अर्ब २० करोड रुपैयाँ) पर्ने अनुमान गरिएको थियो । तर, यो घर बनाउने कम्पनी नै टाट पल्टिएपछि यसलाई कौडीको भाउमा बेच्न लागिएको छ । २१ बेडरुम भएको यो घर बनाउने कम्पनीले यसलाई ५०० मिलियन डलरमा बेच्न चाहेको थियो । तर, बनाउने कम्पनी टाट पल्टिएर ऋण तिर्न नसक्ने अवस्था आएपछि यसलाई २९५ मिलियन डलर (करिब ३५ अर्ब रुपैयाँ) मा लिलामीमा राखिएको छ । यसको लिलामी यही फेब्रुअरी महिनाको सुरुवातमा हुनेछ । हेर्नुहोस् भिडियो – अमेरिकाको रियल स्टेट सम्बन्धि समाचार प्रकाशित गर्ने मिडिया डर्टका अनुसार यो शानदार घर बनाउन अरबौं रुपैयाँ खर्च भएको छ । यो घर अझै पनि बनेर पूरा भइसकेको छैन । तर, कम्पनी टाट पल्टिएपछि ऋणको सेटलमेन्टको लागि यो घर बेचिँदैछ । हलिउड फिल्म निर्माताबाट रियलस्टेट डेभलपर बनेका नील नियामीले ७ वर्ष पहिले यो घर बनाउनको लागि ६०० कर्मचारीलाई काममा राखेका थिए । गत वर्ष जनवरीमा यसलाई लिलामीको लागि सूचिबद्ध गरिएको थियो । तर, पछि घरलाई बिक्रीको सूचिबाट हटाइएको थियो । तर, अब घरका मालिकले ऋणमा डुबेका कारण एक पटक फेरि यसलाई कम मूल्यमा फेरि बेच्ने निर्णय गरेका छन् । क्यालिफोर्नियाको सुरम्य पहाडी इलाकामा बनेको यो घरको नाम द वन हो । यसको क्षेत्रफल करिब १० हजार वर्गफिट छ । यो घरमा २१ सुविधासम्पन्न बेडरुम, ४ स्विमङ पुल, ४५ सिट भएको सिनेमा हल । ३० वटा कार राख्न सकिने ग्यारेज, दौडिनको लागि रनिङ ट्रयाक, एन इनडोर स्पा र एक ब्युटी सैलुन बनेका छन् । यो घर चारैतिरबाट खुला छ र त्यहाँबाट सहरको सुन्दर दृश्य हेर्न सकिन्छ । यो घका छिमेकीहरु हलिउड स्टारहरु पनि छन् । नियामीले पहिले भनेका थिए ‘यदि तपाइँसँग मोनालिसा जस्तो कुनै पनि दुर्लभ चिज छ भने तपाइँ त्यसलाई कुनै पनि मूल्यमा बेच्न सक्नुहुन्छ ।’ तर उनको साथमा यस्तो भएन । उनको कम्पनी टाट पल्टिएर ऋण तिर्न नसकेपछि उनले आफ्नो यो भव्य घर कम मूल्यमा बेच्नु परिरहेको छ ।
सिन्धुलीमा तरकारी बोकेको भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु सिन्धुली। सिन्धुली गोलन्जोर गाउँपालिका ७ मा भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । प्रदेश ३–०१–०२४ च ४२७६ नम्बरको तरकारी बोकेको भ्यान राति २ बजे अनियन्त्रित भएर नालीमा पल्टिदा सिरहाको धनगढीमाई नगरपालिका ९ जिरोमाईल जयपुरका २५ वर्षीय किसुन कुमार साहको मृत्यु भएको हो। साहको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय खुर्कोटले जनाएको छ । दुर्घटनामा घाइते भएका चालक सिरहाकै सखुवानन् कारकट्टी गाउँपालिका १ मौवाहीका २८ वर्षीय सन्तोष कुमार साह र भ्यानमा सवार सिरहाको कल्याणपुर नगरपालिका ५ का २१ वर्षीय पवन महराको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
करेन्ट लागेर प्रधानाध्यापकको मृत्यु काठमाडौं। तेह्रथुमको फेदाप गाउँपालिकामा सोमबार दिउँसो करेन्ट लाग्दा एकजनाको मृत्यु भएको छ । फेदाप गाउँपालिका-१ महाभीरका ५२ वर्षीय अम्बरहादुर बस्नेतको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । बस्नेत महाकाली माध्यमिक विद्यालय फेदाप-१ पुल्डुङगका प्रधानाध्यापक हुन् । विद्यालयमा सञ्चालन हुँदै गरेको परीक्षापछि घर आएर घाँस काट्ने क्रममा हाइटेन्सन लाइनमा करेन्ट लाग्दा बस्नेतको मृत्यु भएको पोक्लाबाङ प्रहरीचौकीले जनाएको छ । घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक कोमल ठाकुरको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ जाँदै गरेको प्रहरीले जनाएको छ ।
आन्तरिक हवाई यात्रामा खोप कार्ड अनिवार्य काठमाडौं । कोभिड–१९ महामारीको जोखिमलाई दृष्टिगत गर्दै सरकारले आन्तरिक हवाई उडानका यात्रुलाई अनिवार्य खोप कार्डको व्यवस्था गरेको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) को आज भएको बैठकले माघ ३ गतेदेखि आन्तरिक हवाई उडानमा खोप कार्ड हुने यात्रुलाई मात्र बोर्डिङ पास उपलब्ध गराउने व्यवस्था मिलाउने निर्णय गरेको हो । हवाई उडानका लागि विमानस्थल पुग्ने यात्रुले अनिवार्य खोप कार्ड देखाउनुपर्ने निर्णय भएको सिसिएमसीका प्रवक्ता एवम् सहसचिव सुनिता नेपालले जानकारी दिए। आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानमा यात्रुको भीडभाड कम हुने गरी उडान तालिका मिलाउन पनि सिसिएमसीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई आग्रह गरेको छ । त्यसैगरी, यही माघ ३ गतेदेखि लागू हुनेगरी सार्वजनिक स्थानमा भेला र भीडभाड कम गर्न तथा होटेल, रेष्टुरेन्ट, सिनेमा हल, रङ्गशाला प्रवेश गर्दा अनिवार्य रुपमा कोभिडविरुद्धको खोप कार्डले मात्रै प्रवेश दिने व्यवस्था मिलाउने निर्णय भएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भएर आन्तरिकतर्फ १० हेलिकोप्टरसहित १९ वायु सेवा प्रदायक कम्पनीले सेवा दिइरहेका छन् । अन्तरराष्ट्रियमा तीन नेपालीसहित ३० एयरलाइन्सले उडान भर्दै आएकामा कोभिडको दोस्रो लहरपछि अहिले नेपालका दुईसहित २० वटा एयरलाइन्सले उडान सञ्चालन गरिरहेका छन् ।
भत्ता नपाएको भन्दै ज्येष्ठ नागरिकले गरे नगरपालिका घेराउ काठमाडौं। ज्येष्ठ नागरिकले कंचनरुप नगरपालिकाको कार्यालयलाईलाई घेराउ गरेका छन् । बृद्धाभत्ता नपाएको भन्दै कंचनरूप नगरपालिकाका ज्येष्ठ नागरिकले कंचनरूप नगरपालिका घेराउ गरेका हुन् । प्रत्येक ४र४ महिनामा पाउनु पर्ने भत्ता ६ महिना बितिसक्दा पनि नपाएको भन्दै ज्येष्ठ नागरिकले कंचनरुप नगरपालिकाको कार्यालयलाई घेराउ गरेपछि मेयर र उपमेयर भागेको स्थानीयले बताए । भत्ता आएपछि जाडोको लुगा किन्ने आसमा बसेका जाडो बित्न लाग्दा पनि किन्न नपाएको दुखेसो घेराउमा सहभागी रहेकी पवित्री सदाले बताइन् । उनले भनिन्, ‘हामीले समयमा भत्ता पाएको भए यस्तो शितलहरमा कठ्याग्रिएर बस्नुपर्ने बाध्यता हुँदैनथ्यो ।’ कतिले मेयर वसन्त मिश्र र उपमेय निरु पोख्रेल चाहिँदैन भन्दै ज्येष्ठ नागरिकले नगरपालिका घेराउ गर्दै नाराबाजी गरेका थिए । समयमा भत्ता दिन नसक्ने मेयर उपमेयरको राजीनामा समेत माग गरेको स्थानीयले बताए ।
कलंकीमा टिपरको ठक्करबाट एकको मृत्यु काठमाडौं । काठमाडौंको कलंकीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु  भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। टिपरको ठक्करबाट मोटरसाइकल चालक बझाङको थलारा घर भई हाल ललितपुर बस्ने २४ वर्षीय वसन्त विष्टको मृत्यु भएको हो । बा ४ ख ६८४३ नम्बरको टिपरले बा १ ब ५४०१ नम्बरको मोटरसाइकललाई गएराति पौने १० बजे ठक्कर दिंदा घाइते भएका मोटरसाइकल चालक विष्टको उपचारको क्रममा कलंकीस्थित शहिद मेमोरियल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । सोही दुर्घटनामा घाइते भएका बझाङकै चैनपुर घर भई हाल ललितपुरको धोविघाट बस्ने २६ वर्षीय निखिल बमको महांकालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । टिपरसहित चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
चितलाङको भीरमा मृत काठमाडौँ । काठमाडौँको चन्द्रागिरी नगरपालिका–१ दहचोक बस्ने मोरङका २५ वर्षीय दिपक रिसिदेव थानकोट–चितलाङको भीरमा मृत भेटिएका छन् । मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङबाट पुस १६ मा वेपत्ता भएका उनको महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले शव फेला पारेको हो ।
‘लिभिङ टुगेदर’मा बस्दै आएका दुईको मृत्यु काठमाडौँ ।काठमाडौँ महानगरपालिका–६ कपनमा ‘लिभिङ टुगेदर’मा बस्दै आएका दुई जनाको रहस्यमय रुपमा मृत्यु भएको छ । खोटाङ शाक्ला गाउँपालिका–५ घर भएकी २२ वर्षीया युशिना राई गएराति कोठामा मृत अवस्थामा फेला परेका र उनीसँगै बस्ने सङ्खुवासभा घर भएका २५ वर्षीय अनिष जिमीको उपचारको क्रममा मृत्यु भएको छ । उनीहरु पब्जी खेलबाट चिनाजान भएको हुँदा झण्डै एक महिनादेखि सँगै बस्दै आएका थिए । आफन्तको घरमा बसेका उनीहरु चिच्याएको आवाज सुनिएपछि राति कोठामा हेर्दा गम्भिर अवस्थामा फेला परेको परिवारले जनाएको छ । प्रहरीकोमा राति १२ः४५ बजे घटनाबारे जानकारी आएको र तत्कालै प्रहरी परिचालन गरिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए । प्रहरीले पब्जी खेलकै कारण घटना घटेको आशङ्का गरेको छ । घटनाको अनुसन्धान भइरहेको उनले जानकारी दिए । शरिरमा रगत लतपतिएको र चक्कुले हानेको घाउ छ ।
२६ लाख जरिवाना ठहर भएका बैंकिङ् कसूर मुद्दाका फरार प्रतिवादी श्रेष्ठ पक्राउ काठमाडौँ। बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौँका ४१ वर्षीय राजेन्द्रकुमार श्रेष्ठ रहेका छन् । बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले २६ लाख रुपैयाँ जरिवाना गरेपछि फरार रहेका श्रेष्ठलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आज बानेश्वरबाट पक्राउ गरेको हो । ब्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत पाटनको २०७८ असोज १० गतेको फैसलापछि पाँच दिन कैद र बिगोबमोजिम रु २६ लाख जरिवाना ठहर गरेपछि फरार रहेका श्रेष्ठलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका श्रेष्ठले सिभिल बैंक लिमिटेड भक्तपुरको आफ्नो खातामा पर्याप्त मौज्दात नहुँदा नहुदै झुक्याएर चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेका थिए । उच्च अदालतले श्रेष्ठलाई बैकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिम उल्लेखित सजाय हुने गरी फैसला सुनाएको थियो । पक्राउ परेका श्रेष्ठलाई फैसला कार्यान्वयनका लागि आजै काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको छ ।
आत्महत्या गर्न चाहन्थे यी बलिउडकर्मी काठमाडौं। भारतीय टेलिभिजन शो ‘द कपिल शर्मा शो’मा अभिनय गरिसकेका कमेडियन तीर्थानन्दले हालैमात्र आत्महत्या गर्नका लागि विष सेवन गरेका थिए। छिमेकीको सहयोगले तीर्थानन्दलाई अस्पताल लगियो, जहाँ उनको उपचारपछि ज्यान बच्यो। १५ वर्षदेखि बलिउडको हिस्सा रहँदै आएका यी कमेडियन कोभिडका कारण आर्थिक संकटमा परेपछि आत्महत्याको बाटोतर्फ जान लागेका थिए। बलिउडमा तीर्थानन्द भन्दाअघि कयौं ठूला स्टारहरूमध्ये केहीले आफ्नो परिस्थितिबाट हार मान्दै र केहीले भने बिरामीका कारण आत्महत्याको सोच बनाइसकेका छन्। अभिनेता अध्ययन सुमन एक समय डिप्रेसनको शिकार भएका थिए। लबी कल्चरको शिकार भएपछि उनलाई फिल्मबाट हटाउन थालिएको थियो। यही समयमा उनी अभिनेत्री कंगना रनावतबाट पनि अलग्गिएका थिए। कंगनासँग पुरानो सम्बन्धलाई सुचारु गर्न उनलाई निकै समस्या भएको थियो। उनका पिता शेखर सुमनले एक अन्तर्वार्तामा छोराले आफूलाई पटकपटक आत्महत्या गर्न मन लागेको कुरा बताउने गरेको खुलासा गरेका थिए। अभिनेता मनोज बाजपेयी नेसनल स्कूल अफ ड्रामामा भर्ना हुने सपना देख्दथे। तर, स्कूलले अस्वीकार गरेपछि उनले आत्महत्याको सोच बनाएका थिए। मनोजले आत्महत्या गर्लान् भन्ने डरले उनका सबै साथी मनोजसँग बस्न थाले, ताकि मनोजले आत्महत्या गर्न नसकून्। टेलिभिजन अभिनेत्री शमा सिकन्दरले पनि आत्महत्याको प्रयास गरिसकेकी छन्। डिप्रेसनका कारण उनले एक रात कयौं निन्द्राको औषधि खाएकी थिइन्। औषधि खाएपछि उनले आमालाई बिहान नउठाउनु भन्दै भाइलाई आफ्ना सबै बैंक एकाउण्टको जानकारी पठाएकी थिइन्। आधा रातमा शंका लागेर भाइले आमालाई बोलाएका थिए। त्यसपछि कोठामा पुग्दा शमा बेहोस् अवस्थामा थिइन्। उनलाई तुरुन्तै अस्पताल लगिएको थियो। जसकारण शमाको ज्यान बच्यो। अभिनेता तथा कमेडियन जोनी लिभरको बाल्यकाल संकटमै बित्यो। उनको पिता मदिराप्रेमी थिए, जसकारण जोनी सडकमा डटपेन बेचेर पैसा कमाउँथे । यही समस्याले गर्दा एकदिन जोनीले आत्महत्या गर्ने मन बनाएका थिए। तर, परिवारलाई सम्झिएर आफ्नो मनलाई परिवर्तन गरे। अभिनेता सलमान खान वर्षौदेखि ट्रायजेमिनल न्यूरालजिया नामको रोगबाट पीडित छन्। यो बिरामीलाई सुसाइड डिसिज पनि भनिन्छ। यो बिरामीबाट पीडित व्यक्तिको नशामा असहनीय दुखाइ हुन्छ । एक अन्तर्वार्तामा सलमानले यही रोगका कारण आफ्नो दिमागमा कयौं पटक आत्महत्याको सोचाई आएको खुलासा गरेका थिए। टेलिभिजन अभिनेत्री जस्मिन भसीनले करियरको सुरुवातमा कयौं अस्वीकारको पीडा झेल्नुपर्यो। उनको अनुहारको रंग नराम्रो भएकै कारण धेरै ठाउँ उनले बेइज्जतको सामना गर्नु परेको थियो । एक समय उनले आत्महत्याको पनि प्रयास गरेकी थिइन्।
ट्र्याक्टरको ठक्करबाट ४० वर्षीय पुरुषको मृत्यु कैलाली। कैलालीमा ट्र्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ। ट्र्याक्टरको ठक्करबाट पैदलयात्री कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ मौरीफाँटाका ४० वर्षीय करन भट्टराईको मृत्यु भएको हो । गोदावरी नगरपालिका–९ धनचौरीस्थित भित्री सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको धनगढी उपमहानगरपालिका–६ जाली बस्ने ३६ वर्षीय वीरबहादुर चौधरीले चलाएको रा१त ४६५३ नम्बरको ट्र्याक्टरले ठक्कर दिँदा पैदलयात्री भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । ट्र्याक्टर र चालक प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ ।
लोकसेवा आयोगसम्बन्धी मुद्दामा हुन सकेन सुनुवाइ काठमाडौं। सर्वोच्च अदालतमा कर्मचारी समायोजन र लोकसेवा आयोगको परीक्षासँग सम्बन्धीत बाइस मुद्दा सुनुवाइका लागि पेसी तोकिएको भए पनि सुनुवाइ हुन सकेन । न्यायाधीश दीपककुमार कार्की, अनिलकुमार सिन्हा र हरिप्रसाद फुयाँलको पूर्ण इजलासमा आज पेसी तोकिएको भए पनि ‘हेर्न नमिल्ने’ सूचीमा राखिएको हुनाले सुनुवाइ हुन नसकेको हो । झण्डै साढे तीन महिनादेखि सुनुवाइ हुन नसकेको लोकसेवा आयोगसम्बन्धी मुद्दा आज पनि सुनुवाइ नभई स्थगित भएको छ ।
ब्राउनसुगरसहित भारतीय नागरिक पक्राउ काठमाडौं। झापाको कनकाई नगरपालिका–३ स्थित सुरुङ्गाचोकबाट लागुऔषध ब्राउनसुगरसहित प्रहरीले आज एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत पश्चिमबङ्गाल दार्जिलिङका ३५ वर्षीय अनिल गोपे रहेको इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख प्रहरी निरीक्षक मानबहादुर जिम्बाले जानकारी दिए । भारतीय नम्बर प्लेटको डब्लुबी६४यु ८६०९ नम्बरको भारतीय मोटरसाइकलमा सवार गोपेलाई शङ्का लागेर जाँच गर्दा १२ ग्राम ब्राउनसुगर बरामद भएको हो । पक्राउ परेका गोपेमाथि थप अनुसन्धान भइरहेको छ भने म्याद थपका लागि जिल्ला अदातल झापा पठाइएको इलाका प्रहरी कार्यालय सुरुङ्गाले जनाएको छ ।
श्रोत नखुलेको ३८ लाख नेपाली रुपैयाँसहित एक युवक पक्राउ काठमाडौं।सशस्त्र प्रहरी श्रोत नखुलेको ३८ लाख ३५ हजार नेपाली रुपैयाँसहित एक युवकलाई पक्राउ गरेको छ ।बिहीबार दिउँसो १ बजे धनुषाको नगराइन नगरपालिका-२ सीमावर्ती क्षेत्रमा लक्ष्मीनियाँ गाउँपालिका-१ बस्ने २३ वर्षीय अमितकुमार यादवलाई ३८ लाख ३५ हजार नेपाली रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ । प्रदेश २,०२,०० १ प ०४८०८ नम्बरको अपाचे मोटरसाइकलको ट्यांकी भित्र लुकाएर ल्याउँदै गरेको नगद रकम विशेष सुराकीको आधारमा नियन्त्रणमा लिएको प्रदेश २ का प्रमुख डीआइजी गणेश ठाडाले जानकारी दिए ।पक्राउ परेका यादवलाई नियन्त्रणमा लिई घटना अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनएको छ ।
लागुऔषध बिक्रीवितरणकाे आरोपमा हजुरबा-नाति नै पक्राउ महोत्तरी। प्रतिबन्धित लागुऔषध (गाजा) बेचबिखन आरोपमा प्रहरीले महोत्तरीबाट चार जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको प्रहरीले गौशाला नगरपालिका-४ रजखोर बस्ने ७० बर्षीय रामचन्द्र साह र उनकाे २१ बर्षीय नाति रोहित साह, सोही वडाका ५३ वर्षीय उपेन्द्र साह र उनका १९ बर्षीय छोरा विवेक साहलाई बुधवार राति पक्राउ गरेको हो । रामचन्द्र साहको घरबाट बिक्रीको लागि पुरिया बनाएको गाजा तीन केजी, डिजिटल तराजु एक थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । २० पुस बेलुका साढे ६ बजे रामचन्द्र र उनकाे नाति रोहितलाई  पक्राउ गरी इलाका प्रहरी कार्यालय बर्दिबास ल्याएर थप अनुसन्धान गर्दा उपेन्द्र साहको घरबाट पनि बिक्री हुने गरेकाे सूचना पाएकाे प्रहरी नायब उपरीक्षक तथा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रकाश विष्टले जानकारी दिए । रजखोरमा नै बस्ने साहको घरबाट पुरिया बनाइराखेको तयारी गाजा पाँच केजी, डिजिटल तराजु एक थान र बिक्री गरेको ६५ सय रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका चारै जनालाई जिल्ला अदालतबाट लागुऔषध मुद्दामा पाँच दिन म्याद थप गरी इलाका प्रहरी कार्यालय गौशालाबाट थप अनुसन्धान भइरहेको प्रवक्ता विष्टको भनाइ छ ।
घरमा आगलागी हुँदा सात लाखको क्षति काठमाडौं।हुम्लाको खार्पुनाथ गाउँपालिका–१ प्युसस्थित एक घरमा आगलागी हुँदा सात लाख बराबरको धनमाल क्षति भएको छ । प्युस गाउँका सुरज शाहीको घरमा मंगलबार राति चुलोमा बालिएको आगो सल्केर राति ११ बजेतिर आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । आगलागीबाट शाहीको घरमा रहेका सम्पूर्ण सामग्रीका साथै गोठमा रहेका पशु तथा कुखुरासमेत जलेर नष्ट भएको पीडित शाहीकी श्रीमती धनुको गुनासो थियोे । सम्पूर्ण सामग्री जलेर नष्ट हुँदा करिब रु सात लाख बराबरको धनमाल क्षति भएको मुचुल्का प्रहरीले गरेको छ ।
कलङ्कीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ। काठमाडौँको कलङ्कीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा धादिङकी २७ वर्षीय शोफिया श्रेष्ठ रहेकी छिन्। काठमाडौँ महानगरपालिका–१४ कलङ्कीस्थित सडकमा प्रदेश नम्बर ३–०२–०११ प ४६८१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार श्रेष्ठको गएराति मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते श्रेष्ठको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले केन्द्रीय समाचार कक्षले जनाएको छ । घाइते भएका मोटरसाइकल चालक गोरखाका ३१ वर्षीय रामशरण ढकालको भने राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
पोर्चुगल पठाइदिन्छु भनी रु ४० लाख ठगी गर्ने दुई पक्राउ काठमाडौं ।नेपाल प्रहरीले कामदार भिसामा पोर्चुगल पठाइदिन्छु भनी विभिन्न व्यक्तिसँग रु ४० लाख ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ । प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले पोर्चुगल पठाइदिन्छु भनी ठगी गर्ने कोटेश्वरस्थित युनिवल्र्ड इन्टरनेशनल टुर्स एण्ड ट्राभल्सका सञ्चालक बाग्लुङका २८ वर्षीय अमृत सोतीमगर र व्यवस्थापक सर्लाहीका २४ वर्षीय समीर कार्कीलाई मङ्गलबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । कामदार भिसामा पोर्चुगल जानका लागि प्रतिव्यक्ति रु १४ लाख लाग्छ र पोर्चुगलमा पुगेपछि मासिक रु एक लाख कमाइ हुन्छ भनी उनीहरुले चार जनासँग १० लाखका दरले रु ४० लाख लिएर ठगी गरेको प्रहरीले जनाएको छ । पक्राउ व्यक्तिलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको महाशाखाले जनाएको छ ।
बढी शुल्क लिने मेडिकल कलेजलाई कारबाही गरिने काठमाडौं । सरकारले चिकित्सा शिक्षा आयोगबाट निर्धारितभन्दा बढी शुल्क लिने मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने जनाएको छ । विभिन्न कलेजले बढी शुल्क लिने गरेको गुनासो आएको सन्दर्भमा मन्त्रालयले पटक–पटकको निर्देशन अवज्ञा गर्ने मेडिकल कलेजको समबन्धन खारेज गर्ने चेतावनी दिएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रायलका प्रवक्ता दीपक शर्माद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, “आयोगको निर्देशनलाई बेवास्ता गरी गैरकानुनीरूपमा विद्यार्थीबाट बढी शुल्क असुर गरिएमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १४ बमोजिम कारबाही हुने व्यहोरा सूचित गरिन्छ ।” राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १४ ९क०मा निर्धारितभन्दा बढी शुल्क लिएमा सम्बन्धन खारेज गर्न सकिने उल्लेख छ । चिकित्सा शिक्षाको एमबिबिएसलगायत शैक्षिक कार्यक्रमका लागि लिइने शुल्क राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १८ मा उल्लेख गरिएको छ । मन्त्रालय र आयोगले विद्यार्थीलाई तोकिएको भन्दा बढी शुल्क नबुझाउन आग्रह गरे पनि मेडिकल कलेजहरुले बढी शुल्क नबुझाए विद्यार्थीलाई परीक्षा दिन नै वञ्चित गराउँदै आएका छन् ।
आमाले १ दिनको बच्चालाई सडकमा छोडिन्, साथमा सबैलाई रुवाउने चिठी लेखेर राखिदिइन् काठमाडौं। सन्तान जस्तो भए पनि आमाको मन सन्तानप्रति अत्यन्तै विशाल र उदार हुन्छ भन्ने हामीले मान्दै आएका छौं । आमाले जस्तोसुकै परिस्थितिमा पनि सन्तानको रक्षा गरेको हामीले देख्दै आएका छौं । तर, कहिलेकाहीँ परिस्थिति र बाध्यताले यस्ता घटनाहरु पनि भएका भेटिन्छन् जहाँ स्थिति अलग हुन्छ । अमेरिकाको अलास्कामा यस्तै घटना भएको छ । यहाँ एक बच्चा निर्जन स्थानमा कार्टुनभित्र राखिएको अवस्थामा फेला परेका छन् । ती बच्चाको साथमा एउटा पत्र पनि भेटिएको छ जुन पत्र उनकी आमाले लेखेर राखिदिएकी थिइन् । यो घटनाको भिडियो सामाजिक संजालमा भाइरल भइरहेको छ । बच्चालाई आमाले अत्यन्तै चिसो मौसममा लावारिस छाडेर गएकी थिइन् । जतिबेला यी बच्चालाई अरु मानिसले फेला पारे त्यतिबेला त्यहाँको तापक्रम १२ डिग्रीभन्दा पनि कम थियो । आमाले बच्चालाई ठिक त्यही दिन आफूबाट अलग गरिन् जुन दिन उनी जन्मिएका थिए । न्यूयोर्क पोस्टका अनुसार नयाँ वर्षको अघिल्लो दिन ३१ डिसेम्बरमा बच्चा र उनको साथमा उनकी आमाले लेखेको पत्र फेला परेका हुन् । पत्रमा आमाले आफूले बच्चालाई खुवाउन नसक्ने लेखेकी छिन् । यस बारेमा अलास्का स्टेट ट्रुपर्सको तर्फबाट बयान पनि जारी भएको छ जसमा बच्चा भेटिएको जानकारी साझा गरिएको छ । बच्चा फेयरबेंक्सकी रोक्सी लेनले फेला पारेकी हुन् । उनैले भिडियो सामाजिक संजालमा शेयर गरेकी थिइन् । बच्चालाई अहिले नजिकैको अस्पतालमा भर्ना गरिएको छ । बच्चाको साथमा उनकी आमाले छोडेको पत्रमा आमाले बच्चाको तर्फबाट लेखेकी छिन् ‘मलाई सहयोग गर्नुहोस् । मेरो जन्म ३१ डिसेम्बरमा १२ हप्ता पहिल्यै भएको हो । मेरा मातापिता र हजुरबुवा हजुरआमासँग मलाई खुवाउनको लागि पैसा छैन । मेरी आमा धेरै दुखी छिन् । मलाई कसैले आफ्नो साथमा लैजानुस् ताकि मैले पनि एक राम्रो परिवार पाउन सकुँ । मेरा मातापिताले तपाइँहरुसँग प्रार्थना गरिरहेका छन् । मेरो नाम तेशावन हो ।’ बच्चा फेला पारेर उनको भिडियो फेसबुकमा शेयर गर्ने लेनले फेसबुकमा सम्भवतः बच्चाका मातापितालाई अलास्काको सेफ हेभेन लबारे जानकारी नभएको हुन सक्ने लेखेकी छिन् । यो कानुनअनुसार यहाँ यदि कुनै अभिभावकले आफ्नो बच्चा आफूसँग राख्न चाहँदैनन् भने उसलाई नजिकको अस्पतालमा पठाउन सक्छन् । यसबाहेक बच्चालाई चर्च, पुलिस वा फायर स्टेशनमा पनि दिन सकिन्छ ।
‘सामाजिक सञ्जाललाई समाज परिवर्तनमा उपयोग गरौँ’ काठमाडौं । प्रेस काउिन्सल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सामाजिक सञ्जालको विवेकशील प्रयोग गर्न आग्रह गरेका छन् । नेपाल पत्रकार महासङ्घ म्याग्दी शाखाको संयोजनमा आज बेनीमा भएको पत्रकारिता आचारसंहिता जागरण अभियान कार्यक्रमलाई सम्बोधन गर्दै उनले सामाजिक सञ्जाललाई समाज परिवर्तनको साधनका रुपमा उपयोग गर्नुपर्ने धारणा राखे । “दर्ता भएका पत्रकारिता, रेडियो, टेलिभिजन र अनलाइनका सामाजिक सञ्जाललाई प्रेस काउन्सिलले अनुगमन गर्छ,” उनले भने “प्रविधिको विकाससँगै पाएको सुविधालाई धनआर्जन गर्ने मात्र नभइ समाजमा सकारात्मक सुधारको माध्यम बनाउन आवश्यक छ ।” कार्यक्रममा सहभागी स्थानीय सञ्चार माध्यमका प्रतिनिधिले वर्गीकरण नजिता नआउदा पछिल्लो अवधिमा सञ्चालनमा आएका पत्रपत्रिकाले राज्यले दिने लोककल्याणकारी विज्ञापनबाट वञ्चित हुनुपरेको गुनासो गरेका थिए । काउन्सिलका सदस्य दुर्गा भण्डारीले नयाँ सञ्चार माध्यम र प्रविधिको विकाससँगै थपिएको पत्रकार आचारसंहिता पालनाको चुनौती घटाउन देशव्यापी जागरण अभियान सञ्चालन गरिएको बताए । काउन्सिलका अनुगमनकर्ता गीता कठायतले देशभरका पत्रपत्रिका, पत्रकार महाङ्घ म्याग्दीका संस्थापक अध्यक्ष घनश्याम खड्काले म्याग्दी र अग्रज पत्रकार पुण्य पौडेलले प्रदेशका सञ्चार माध्यम र पत्रकारको आचारसंहिता पालनाको अवस्थाको बारेमा सहजिकरण गरेका थिए । प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले पत्रकारितालाई तत्थ्यपरक र बिश्वसनीय बनाउन सूचनाको हकको उपयोग गर्न सुझाव दिए । प्रहरी नायब उपरीक्षक श्यामकुमार राइले समाचारले अनुसन्धानलाई असफल बनाउन र अदालती पक्रियामा असर पुग्न नहुनेतर्फ सचेत रहनुपर्ने बताए। कार्यक्रममा ४० सञ्चारकर्मीले भाग लिएका महासङ्घ म्याग्दी शाखाका सचिव सन्तोष गौतमले जानकारी दिए ।
मापसे गरेका सवारी चालकले प्रहरीलाई घुस दिन खोजेपछि… काठमाडौं। प्रहरीलाई घुस दिन खोज्ने दुई जना पक्राउ परेका छन् । महानगरीय प्रहरी प्रभाग नैकापले चितवनका २४ वर्षीय रोशन श्रेष्ठ र काठमाडौं मच्छेगाउँका ५४ वर्षीय केशव गोपालीलाई नियन्त्रणमा लिएको हो । प्रदेश ०३-०२-००४ प ४९७४ नम्बर मोटरसाइकल हाँकिरहेका श्रेष्ठ र पछाडि सवार गोपालीले दुबै मदिरा सेवन गरेको र नैकापको प्रहरी टोलीले चेकिङ गर्दा चालकले पाँच सय रुपैयाँ घुस दिन खोजेका थिए । घुस दिन खोजेपछि प्रहरीले दुबै जनालाई नियन्त्रणमा लिएर प्रहरी वृत्त थानकोटमा राखी थप अनुसन्धान भइरहेको प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
अनलाइन ठगी गरेको आरोपमा १८ वर्षीय किशोर पक्राउ काठमाडौं । भक्तपुरबाट प्रहरीले अनलाइन ठगी गरेको आरोपमा एक जनालाई  पक्राउ गरेको छ । ठगी गरेको आरोपमा  भक्तपुरको गठ्ठाघर बस्ने मोरङको पथरी शनिश्वरे नगरपालिका–१०, मंगलबारे घर भएका १८ वर्षीय किशोरलाई पक्राउ गरेको हो । विभिन्न व्यक्तिहरूका फेसबुक आईडी ह्याक गरी आईडीमा भएका व्यक्तिहरूलाई विभिन्न खातामा पैसा पठाउन लगाई अनलाइन ठगी गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । उनीविरुद्ध ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
दैलेखमा जिप दुर्घटना हुँदा चालकको मृत्यु सुर्खेत। दैलेखमा बुधबार जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। नारायण नगरपालिका–११ लोहोर कच्ची सडक खण्डमा दुर्घटना हुँदा जिप चालक दैलैख भगवतीमाई गाउँपालिका-६ का ३० वर्षीय कृष्ण रोकाको मृत्यु भएको हो । भगवतीमाई गाउँपालिका–२ बेस्तडादेखि सदरमुकाम नारायण नगरपालिकातर्फ जाँदै गरेको लु२च ४८२९ नम्बरको जीप दुर्घटना भएको प्रहरीले जनाएको छ। जिपमा तीन जना महिला पाँच जना पुरुष र दुई जना बच्चा गरी १० जना सवार रहेको प्रहरीले जानकारी दिए । घाइतेको जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको छ।
बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक जना घाइते ललितपुर। ललितपुरको कुपण्डोलमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ। साथै,एक जना घाइते भएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार बा९५प ५३३४ नम्बरको मोटरसाइकल गएराति सवा एक बजे अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किँदा मोटरसाइकलमा पछाडी सवार मंगलबजार बस्ने ललितपुरकै गोदावरी नगरपालिका–९ छम्पीका ३१ वर्षीय राजु तामाङको उपचारको क्रममा आज बिहान तीन बजे पाटन अस्पतालमा मृत्यु भएको हो । महाशाखाका अनुसार मोटरसाइकल चालकको भने महाँकालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
बर्दियामा जङ्गली वयस्क हात्ती मृत फेला काठमाडौँ ।बर्दियाको राजापुर नगरपालिका–१० ढुण्डिपुर गाउँमा जङ्गली वयस्क हात्ती मृत अवस्थामा फेला परेको छ । नेपाल–भारत सिमाना नजिक राजापुर–१० ढुण्डिपुर गाउँको गहुँ तोरी खेतमा आज जङ्गली हात्ती मृत अवस्थामा फेला परेको राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका प्रमुख डा रवीन कडरियाले जानकारी दिए । रोग वा अन्य मृत्युका बारेमा थप अनुसन्धानलगायत पोष्टमार्टम रिपोर्ट आएपछि मात्र वास्तविकता पत्ता लाग्ने प्रमुख विडारीको बताए । दुई दिनअघि राजापुर–९ की ५४ वर्षीया भुसिया थारुको बाख्रा चराउन गएका बेला सोही क्षेत्रमा जङ्गली हात्तीको आक्रमणमा परी मृत्यु भएको थियो ।
बसको ठक्करबाट सप्तरीमा एक बालक गम्भीर घाइते काठमाडौँ । सप्तरीको सडेंपारमा अर्जुन रथ बसको ठक्करबाट एक जना बालक गम्भीर घाइते भएका छन् । घाइते हुनेमा स्थानीय जयबिन्द सिंहका ८ वर्षीय छोरा जित सिंह रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए । ठक्करबाट घाइते भएका बालकको अवस्था गम्भीर रहेको परिवारले जानकारी दिएको छ । उनलाई उपचारका लागि विराटनगर लगिएको छ । घटना भए लगत्तै स्थानीयले टायर बालेर सडक अवरुद्ध गरेका छन् । बस विराटनगरबाट राजविराज आउने क्रममा दुर्घटना भएको स्थानीयले बताएका छन् ।
नक्कली नियुक्तिपत्र दिई ठगी काठमाडौँ । नेपाल रेल्वे कम्पनीको नक्कली नियुक्ति पत्र दिई ठगी गरेको आरोपमा धनुषा प्रहरीले आज एक युवकलाई पक्राउ गरेको छ । आफूलाई लोकसेवा आयोग तथा नेपाल रेल्वे कम्पनीको पदाधिकारी भएको भन्दै सर्वसाधारणलाई नक्कली नियुक्तिपत्र दिएर ठगी गरेको आरोपमा महोत्तरीको पिपरा गाउँपालिका–७ निवासी ३२ वर्षीय सागरकान्त चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । लोकसेवा आयोग र नेपाल रेल्वे कम्पनीको नक्कली कागजात देखाएर ठगी गरिरहेको गोप्य सूचनाका आधारमा जनकपुरधाम उपमहानगरपालिका–८ स्थित सीता प्यालेस होटल अगाडिबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।
लमजुङमा आठ हजार बढीको राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन काठमाडौं। लमजुङमा आठ हजार २ सय ६९ जनाले राष्ट्रिय परिचयपत्रका लागि व्यक्तिगत विवरण दर्ता गरेका छन् । जिल्ला प्रशासन कार्यालयबाट २०७७ साउन ३१ गतेदेखि राष्ट्रिय परिचयपत्रको विवरण संकलन सुरु गरिएको हो । ४ हजार ७ सय २८ पुरुष र ३ हजार ५ सय ४१ जना महिलाले राष्ट्रिय परिचयपत्र बनाएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी जगदीश मिश्रले बताए । चालु आर्थिक वर्ष २०७८/७९ को साउनदेखि हालसम्म २ हजार ८ सय ८९ जनाले जनाले राष्ट्रिय परिचयपत्र बनाएका छन् जसमध्ये १ हजार ७ सय २९ जना पुरुष र १ हजार १ सय ६० जना महिला रहेका छन् । सूचना अधिकारी मिश्रका अनुसार गत आर्थिक वर्षमा पाँच हजार ३ सय ८० जनाले राष्ट्रिय परिचयपत्र बनाएका थिए । जसमध्ये २ हजार ३ सय ८१ महिला र २ हजार ९ सय ९९ पुरुष रहेका छन् । चार/चार महिनामा राष्ट्रिय परिचयपत्र वितरण गर्ने भनिएता पनि हालसम्म सबै नागरिकले परिचयपत्र प्राप्त गर्न नसकेको मिश्रको भनाई छ । लमजुङमा डेढ वर्ष अघि गण्डकी प्रदेशसभा सदस्य मायानाथ अधिकारीले राष्ट्रिय परिचयपत्र बनाउँदै अभियानको सुरुवात गरिएको हो । सोही समयदेखि राष्ट्रिय परिचयपत्रका लागि नाम दर्ता गराएका नागरिकहरूले अहिलेसम्म पनि राष्ट्रिय परिचयपत्र पाएका छैनन् । १६ वर्ष उमेर पुगेका सबै नेपाली नागरिकले राष्ट्रिय परिचयपत्र बनाउन पाउनेछन् । परिचयपत्रमा व्यक्तिगत र जैविक (बायोमेट्रिक) गरी दुई विवरण ‘इन्ट्री’ गरिनेछ । नेपाल सरकारले राष्ट्रिय परिचयपत्रका लागि नेपाली नागरिकता अनिवार्य चाहिने र राहदानी निकाल्नको लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ ।
दुई कम्पनीको सेयर मूल्य समायोजन काठमाडौं। दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । मूल्य समायोजन हुनेमा सिभिल बैंक र रिलायन्स फाइनान्स रहेका छन्। सिभिल बैंकको ५ प्रतिशत बोनसपछिको सेयरमा मूल्य समायोजन भएको छ। समायोजनपछि सेयर भाउ २४५ रुपैयाँ ७१ पैसा निर्धारण भएको छ । बैंकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । रिलायन्स फाइनान्सको १५ प्रतिशत बोनसपछिको सेयरमा मूल्य समायोजन भएको छ। समायोजनपछि फाइनान्सको सेयर भाउ ४५२ रुपैयाँ १७ पैसा निर्धारण भएको छ । फाइनान्सले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १५ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।
हिमपहिरामा हराएका किसानको चार दिनपछि शव भेटियो काठमाडौं।हिमपहिरामा परेर बेपत्ता भएका मनाङका एक किसान चार दिनपछि मृतावस्थामा भेटिएका छन् । मनाङको नासों गाउँपालिका–४ ओडारका ५३ वर्षीय आजुङ लाटा भनिने आच्यों गुरुङ आइतबार मृत भेटिएको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ । चार दिनदेखि हिमपहिरामा परेर हराइरहेका गुरुङको शव गाउँमाथिको जङ्गलमा हिउँले पुरिएको अवस्थामा भेटिएको धारापानी सीमा प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले जानकारी दिएको छ । हिउँले पुरिएको अवस्थामा उनको शव निकालिएको प्रहरी नायब उपरीक्षक सुवास खड्काले जानकारी दिए। उनका अनुसार प्रहरी गस्ती टोलीले नासों गाउँपालिका–४ ओडार गाउँमाथिको फ्लेमरो जङ्गलस्थित रउभिरमा हिउँले पुरेको अवस्थामा शव भेटिएको हो । गाउँमाथि रहेको भेडीगोठबाट फर्कने क्रममा १४ गते बुधबार दिउँसोबाट गुरुङ बेपत्ता थिए । हिउँ परिरहेकाले उनी घर पुग्न सकेका थिएनन् । प्रहरीले बुधबारदेखि नै बेपत्ता गुरुङको खोजी गरेको थियो तर हिमपातका कारण उद्धारमा समस्या भएको थियो । गुरुङको शव परीक्षणका लागि लमजुङको बेंसीशहरस्थित जिल्ला अस्पताल लगिएको छ ।
हिउँमा फँसेका बाबुछोरा उद्धार गर्न गएको हेलिकप्टर आज पनि रित्तै फर्कियो काडमाडौं ।ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङमा पाँच दिनदेखि हिउँमा फँसेका बाबुछोराको उद्धार हुन सकेको छैन । आज बिहान दुई पटक अल्टिच्युट एयर कम्पनीको हेलिकप्टर उद्धारका लागि गए पनि ठाउँ पहिचान गर्न नसकेपछि उद्धार हुन नसकेको हो । अन्दाजी ५०÷५५ वर्षका लाक्पा टासी र उहाँका १४/१५ वर्षीय छोरा पासाङ शेर्पा गत बुधबार हिउँमा फँसेका हुन् । ‘चौँरीसँगै हिउँपहिरोले बगायो तर ओडार भेटेर बसेका छौँ । हामी निस्कन नसक्ने भयौँ’ भन्दै गत शनिबार हेलिकप्टरबाट निकालिदिन लाक्पाले आग्रह गर्नुभएको मिक्वाखोला–५ का वडाध्यक्ष डण्डु शेर्पाले बताए । समुद्री सतहबाट चार हजार मिटर उचाइमा अवस्थित पापुङको लोनाक भन्ने ठाउँमा चौँरीगोठ सार्ने क्रममा बाबुछोरा हिउँमा फँसेका हुन् । वडाअध्यक्ष शेर्पालाई लाक्पाले फोनमार्फत उद्धारका लागि हेलिकप्टर पठाइदिन आग्रह गरेका थिए । सोहीअनुसार शनिबार ११ बजे ताप्लेजुङको सुकेटारबाट उद्धारका लागि हेलिकप्टर दुई पटक उडान गरेको थियो । तर कुन ठाउँमा हो भन्ने मेसो नपाएपछि हेलिकप्टर रित्तै सुकेटार फर्केको थियो । आइतबार बिहान दुई पटक उद्धारका लागि सुकेटरबाट पापुङको लोनाक ठाउँमा गए पनि बाबुछोरा बसेको ठाउँ पत्ता नलागेपछि हेलिकप्टर रित्तै सुकेटार फर्केको ताप्लेजुङ प्रमुख जिल्ला अधिकारी उमेश पाण्डे जानकारी दिए । फोन सम्पर्क भएकाले बाबुछोरा बसेको ठाउँमा आगो बालेर धुवाँ निकाल्न अनुरोध गरेको पाण्डेले बताए । धुवाँ निस्केपछि ठाउँ पहिचान गरेर हेलिकप्टरमार्फत उद्धार गर्ने पाण्डेले बताए ।
स्थानीय तहद्वारा विद्यालय बन्द काठमाडौं। जाडो बढ्दै गएपछि काभ्रेपलाञ्चोकको स्थानीय तहले विद्यालय बन्द गर्न निर्देशन दिन थालेका छन् । चार दिनअघिको वर्षाले चिसो बढ्दै गएपछि जिल्लाका तीन स्थानीय तहले विद्यालय बन्द गर्न निर्देशन दिइसकेका छन् । तेमाल गाउँपालिकाले यसै साताको वर्षाका कारण जाडो बढ्दै गएको जनाउँदै आजदेखि एक हप्ताका लागि आफ्नो क्षेत्रको सामुदायिक तथा संस्थागत विद्यालयमा पठनपाठन बन्द गर्न निर्देशन दिएको छ । प्रमुख प्रशासकीय अधिकृत केदारप्रसाद ढकालद्वारा जारी सूचनामा विद्यालय आउने बालबालिकामा चिसो बढिरहेकाले पठनपाठनमा कठिनाई हुँदै गएकाले गाउँपालिकाद्वारा एक हप्ता विद्यालय बन्द गर्ने निर्णय गरिएको उल्लेख गरिएको छ । यस्तै, रोशी गाउँपालिकाले गत शुक्रबारदेखि दश दिनका लागि विद्यालय बन्द गराएको छ । शिक्षा शाखा अधिकृत रामबहादुर तामाङका अनुसार प्रतिकूल मौसमका कारण विद्यालय सञ्चालन गर्न कठिनाइ भएकाले चिसोबाट बालबालिकामा हुने स्वास्थ्य जोखिमबाट बच्न दश दिनका लागि विद्यालयमा पठनपाठन बन्द गराइएको हो । धुलिखेल नगरपालिकाले पनि गत बिहीबारदेखि आफ्नो क्षेत्रका विद्यालय एक हप्ताका लागि बन्द गराएको छ । गत मङ्गलबार र बुधबारको वर्षापछि चिसो बढेको जनाउँदै नगरपालिकाद्वारा जारी सूचनामा तापमान न्यून भई जाडो बढिरहेकाले सामुदायिक र संस्थागत विद्यालय बन्द गर्न आग्रह गरिएको नगरप्रमुख अशोक ब्याञ्जूले बताए ।
स्रोत नखुलेको ५० लाख नगदसहित सौर्य एयरलाइन्सका कर्मचारी पक्राउ काठमाडौं। नेपाल प्रहरीले स्रोत नखुलेको ५० लाख नगदसहित सौर्य एयरलाइन्सका कर्मचारीलाई पक्राउ गरेको छ ।प्रहरीको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले स्रोत नखुलेको ५० लाख नगदसहित मोरङको विराटनगर महानगरपालिका–४ की ३३ वर्षीया रेशा शाक्य पोखरेललाई शनिबार दिउँसो पक्राउ गरी आज सार्वजनिक गरेको हो । विराटनगरबाट काठमाडौँ आउँदै गरेको सौर्य एअरलाइन्सको जहाजमा सोही एयरलाइन्सका विराटनगर स्टेशन इन्चार्ज प्रकाश पौडेलले सुरक्षा जाँचसमेत नगरी झोला राखेको सूचनाका आधारमा काठमाडौँमा जाँचका क्रममा उक्त नगदसहित प्रहरीले पोखरेललाई पक्राउ गरेको हो । पोखरेल सौर्य एयरलाइन्समा एसिसटेन्टका रुपमा कार्यरत रहेको अनुसन्धानबाट खुलेको छ । प्रहरीले उनीसँग एक हजारका दरले चार हजार ९०० थान र पाँच सयका दरका १०० थान गरी रु ५० लाख नगद बरामद गरेको हो । बरामद रकमसहित पोखरेललाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पठाइएको विमानस्थल प्रहरीले जनाएको छ ।
जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ जाजरकोट। प्रहरीले जाजरकोटबाट जुवा-तास खेल्दै गरेका १३ जनालाई पक्राउ गरेको छ । भेरी नगरपालिका-४ गैरीखाली स्थित सन्तोष श्रेष्ठको घरमा अवैध रुपमा जुवातास खेलाइरहेको सूचना पाएपछि जिप्रका खलंगाबाट खटिएको प्रहरी टोलीले  १३ जना जुवाडेलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा भेरी नगरपालिका-५ बस्ने ४२ वर्षीया दलबहादुर घर्ती, भेरी-४ बस्ने ४६ वर्षीय प्रचण्ड जंग शाह, भेरी-८ बस्ने २५ वर्षीय जीवन खत्री, भेरी-४ बस्ने २७ वर्षीय प्रभात केसी, भेरी-६ बस्ने ३४ वर्षीय शशी बुढा, भेरी-४ बस्ने ३३ वर्षीय सन्तोष श्रेष्ठ, भेरी-४ बस्ने २७ वर्षीय २७ नीराजन भडेल, छेडागाड नगरपाललिका- १३ बस्ने ४२ वर्षीय कर्ण बहादुर खड्का छेडागाड-५ बस्ने ३६ वर्षीय प्रकाशमान सिंह, छेडागाड-१० बस्ने ३६ वर्षीय प्रशुराम गिरी कुशे गापा-९ बस्ने वर्ष ४८ को दिकपाल आरसीजि, रुकुम पश्चिम चौरजहारी नगरपालिका-६ बस्ने २० वर्षीय विकाश विक र चौरजहारी नगर-३ मै बस्ने ३० वर्षीय बालकृष्ण बुढाथोकी रहेका छन्। प्रहरीले जुवा खालबाट नगद २ लाख ५२ हजार १२० रुपैयाँ र तासका गड्डी र विभिन्न कम्पनीका मोबाइल सेट १३ थान बरामद गरेको छ।
सर्लाहीमा मोटरसाइल दुर्घटना हुँदा तीन जनाको मृत्यु सर्लाही। सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । सर्लाहीको सागरनाथ जंगलमा मोटरसाइकल अनियन्त्रित भएर पल्टिदा मोटरसाइकलमा सवार तीनजनाको मृत्यु भएको हो । दुर्घटनामा परि ज्यान गुमाउनेमा ईश्वरपुर नगरपालिका–१० दसबिघा बस्ने वर्ष २२ वर्षिय अरुण सिंह, २० वर्षिय श्रगम बिक र रोहन सिंह रहेका छन्।  उनीहरुको घटना स्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । इश्वरपुर नगरपालिका–३ बयलबास भक्तिपुर सडकखण्डस्थित सागरनाथ जंगलमा बयलबास तर्फ जाँदै गरेको बा १९ प ७१९७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउको रुखमा ठोकिएर बाटो भन्दा १० मिटर तल खसेको थियो । मोटरसाइकलसहित तीनजना लडेको अवस्थामा देखेपछि स्थानीयले आइतवार विहान प्रहरीलाई खबर गरेका थिए । दुर्घटनाको समय र कारण खुल्न नसकेपनि मादक प्रदार्थ सेवन अथवा बाक्लो हुस्सुले मोटरसाइकल अनियन्त्रित भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । मृतक तीनैजनाको शव जिल्ला अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
एकैरात चार मन्दिरमा चोरी काठमाडौं। पूर्वी चितवनको कालिका नगरपालिका– २ मा रहेका चार मन्दिरमा चोरी भएको छ । वडा कार्यालय परिसरमा रहेका ती मन्दिरमा शनिबार राति एकैपटक चोरी भएको हो ।पदमपुर प्रहरी चौकीका अनुसार परिसरमा रहेको कल्पेश्वर महादेव मन्दिर, बिघ्नेश्वर गणेश, राधाकृष्ण र सिद्धिदाता भगवती मन्दिरको ढोका तथा सत्तल फोरेर मन्दिरमा रहेको दान पेटिकाको नगद चोरी भएको होे । दान पेटीकामा रहेका पैसा र विभिन्न सामग्री गरेर करिब १० हजार बराबरको नगद तथा जिन्सी चोरी भएको कार्यालयका प्रमुख तथा सहायक प्रहरी निरीक्षक उदय केसीले जानकारी दिए । उनका अनुसार पाँच/सात जनाको समूहले चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । मन्दिरमा रहेका मूर्ति र अन्य सामग्री सुरक्षित छन् । घटनाको प्रकृति हेर्दा पैसाका लागि चोरी गरिएको अनुमान गरिएको छ ।
नक्कली परीक्षार्थी बनी प्रहरी जवानको लिखित परीक्षा दिने २ जना पक्राउ काठमाडौँ। सशस्त्र प्रहरी बलमा रिक्त रहेको सशस्त्र प्रहरी जवान पदको खुल्ला प्रतियोगिताको लिखित परीक्षामा  नक्कली परीक्षार्थी बनी परीक्षा दिने २ जनालाई प्रहरीले शनिबार (पौष १७ गते) पक्राउ गरेको छ । अर्काको नाममा परीक्षा दिँदै गरेका बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका ६ बस्ने १८ वर्षीय निल कुमार अदै र धनकुटा जिल्लाको सहिदभूमि गाउँपालिका ५ बस्ने २७ वर्षीय सौहार्द राई पक्राउ परेका हुन् । सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४ मुक्तिनाथ बाहिनी पोखराबाट दरखास्त फाराम बुझाएका दर्ता नम्बर ३१७१५ का सुनिल पुन मगरको स्थानमा अदै र सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बाहिनी पकलीबाट दरखास्त फाराम बुझाएका दर्ता नम्बर १४४२० का योगेन्द्र राईको स्थानमा नक्कली उम्मेदवार बनी परीक्षा दिन खोज्ने सौहार्द राईले परीक्षा दिने प्रयास गरेका थिए । हालै प्रकाशित विज्ञापन अनुसार खुल्ला प्रतियोगिताद्वारा पदपूर्ति गरिने साधारण समूह साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी जवान पदको लिखित परीक्षामा सशस्त्र प्रहरी बलको तर्फबाट ‘थम्ब रिडर बायोमेटिक डिभाईस’ प्रयोग गरी परिक्षार्थीहरुको यकिन गर्ने क्रममा नक्कली परीक्षार्थी प्रमाणित भएको हो । पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीको लागि स्थानीय प्रहरीलाई बुझाइएको छ ।
निर्वाचन गर्न एनआरएनएलाई परराष्ट्र मन्त्री खड्काको निर्देशन काठमाडौं। परराष्ट्र मन्त्री नारायण खड्काले गैरआवासीय नेपाली संघको निर्वाचन गर्न निर्देशन दिएका छन् । संघका अध्यक्ष कुमार पन्तको नेतृत्वमा शुक्रबार गएको एक प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री खड्काले संघको १०औं महाधिवेशन तथा निर्वाचन प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका हुन् । मन्त्री खड्काले मन्त्रालयको तर्फबाट कुनै हस्तक्षेप नहुने प्रतिबद्धता व्यक्त गर्दै सबै पक्षलाई समेटेर लैजान सुझाव दिएका थिए । भेटमा गैरआवासीय नेपाली संघका पन्तले निर्वाचनको विषयलाई लिएर संघ मन्त्रालयविरुद्ध पाटन उच्च अदालतमा जाने बाध्यात्मक कदम भएको बताएका थिए । पन्तले अगामी दिनमा मन्त्रालयसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै संघको नयाँ नेतृत्वको लागि निर्वाचनको लागि सहयोग गर्न आग्रह गरे । प्रतिनिधिमण्डलमा गैरआवासीय नेपाली संघका महासचिव डा। हेम राज शर्मा, कोषाध्यक्ष महेश श्रेष्ठ, नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङ, गैरआवासीय नेपाली संघ बेल्जियमका पूर्वसभापति गंगाधर गौतम लगायतको उपस्थिति थियो । गैरआवासीय नेपाली संघ र मन्त्रालयबीचको पत्रयुद्धपछि संघका पदाधिकारीहरूले पहिलो पटक मन्त्री खड्कालाई भेटेका हुन् । पछिल्लो भेटघाटले संघ र मन्त्रालयबीचको सम्बन्धमा सुधार हुने अपेक्षा गरिएको छ ।
अझै गर्न सकिएन हिउँमा फसेका बाबुछोराको उद्धार काठमाडौं।चार दिनदेखि हिउँमा फसेका ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ स्थित पापुङका बाबुछोराको अझै उद्धार हुनसकेको छैन । उद्धारका लागि आज गएको निजी कम्पनीको एक हेलिकोप्टर उनीहरू रहेको स्थान पत्ता नलागेपछि उद्धार नगरी फर्किएको छ । हिउँमा फसेको क्षेत्रमा दुई पटकसम्म हेलिकोप्टर गएको थियो । पहिलोपटक पुग्दा ठाउँ पत्ता नलागेको र दोस्रोपटक स्थानीयवासीलाई लिएर जाँदा मौसममा खराबी आएकाले उद्धार गर्न नसकिएको पापुङका वडाध्यक्ष डण्डु शेर्पाले बताए । उद्धारका लागि भोलि पुनः हेलिकोप्टर लैजाने तयारी भएको शेर्पाको भनाइ छ । “हामी दुई पटकसम्म सो क्षेत्रमा पुग्यौँ, पहिलोपटक ठाउँ पत्ता लागेन, दोस्रोपटक जाँदा कुहिरो लाग्यो, अब भोलि पुनः जान्छौँ”, शेर्पाले भने । हिउँमा फसेकाहरू बेलाबेलामा फोन सम्पर्कमै रहने गरेकाले ज्यान जोखिममा नहोला भन्ने अनुमान रहेको शेर्पाको भनाइ छ । मिक्वाखोला घर भएका अन्दाजी ५५ वर्षका लाक्पाटासी शेर्पा र उहाँका छोरा १५ वर्षीय पासाङ शेर्पा चार दिनदेखि हिउँमा फसेका हुन् । चौँरीगोठ सार्ने क्रममा उनीहरू हिमपहिरामा परेका थिए । फोन सम्पर्कका क्रममा उनीहरूले आफूहरू एउटा ओढारमा आड लिएर बसेको बताउने गरेको वडाध्यक्ष शेर्पाको भनाइ छ ।
बैंकले झुक्किएर हजारौं खातामा २१ अर्ब पठायो, प्रतिस्पर्धी बैंकमा गएपछि फिर्ता लिन समस्या काठमाडौं। बेलायतको एक बैंकले झुक्किएर हजारौं खातामा कूल १३० मिलियन पाउण्ड (करिब २१ अर्ब नेपाली रुपैयाँ) पठाएको छ । बेलायतको सान्ट्याण्डर बैंकले २५ डिसेम्बरमा क्रिसमसका दिन झुक्किएर ७५ हजार वटा फरक फरक खातामा यो रकम पठाएको हो । यो रकम बैंकका २ हजार खाताबाट पठाइएको छ । अब बैंकको अगाडि यो पैसा कसरी फिर्ता पाउने भन्ने ठूलो समस्या बनेको छ । द गार्डियनका अनुसार सान्ट्याण्डरले यो पैसा जुन खाताहरुमा पठाएको छ ती खाताहरु बारक्लेज, एचएसबीसी, न्याटवेस्ट, कोअपरेटिभ बैंक र भर्जिन मनी जस्ता उसकै प्रतिस्पर्धी बैंकहरुका खाताहरु हुन् । प्रतिस्पर्धी बैंकका खाताहरुमा गएकोले बैंकको लागि यो पैसा कसरी फिर्ता लिने भन्ने समस्या छ । खासमा यो रकम बैंकको नियमित कारोबार नै थियो र त्यो पैसा ती खातामा जानुपर्ने नै थियो । तर, गडबडी कहाँ भइदियो भने बैंकले एक पटक गर्नुपर्ने कारोबार झुक्किएर दुई पटक गरिदियो । अर्थात जुन खातामा जति पैसा जानुपर्ने थियो त्यसको ठिक दोब्बर पैसा गयो र जुन खाताबाट यो पैसा जानुपर्ने थियो त्यहाँबाट पनि दुई गुणा पैसा घट्यो । रिपोर्टका अनुसार बैंकको अगाडि यो पनि समस्या छ कि यो कारोबार क्रिसमसको दिन भएको छ । त्यसैले मानिसहरुले क्रिसमसका क्रममा यो पैसा खर्च गरिसकेको हुन सक्ने र पैसा फिर्ता नआउने डर छ । प्रतिस्पर्धी बैंकहरुले यो पैसा फिर्ता गर्न सकिने बताएका छन् तर यदि ग्राहकले यो पैसा निकालेर खर्च गरिसकेको अवस्थामा ग्राहकलाई पैसा फिर्ता गर्न दबाब दिँदा ग्राहक भड्किन सक्ने उनीहरुलाई डर छ । अब सान्ट्याण्डर बैंक आफैं सबै ग्राहककहाँ गएर पैसा फिर्ता माग्न सक्ने विकल्प पनि छ ।
लागुऔषध सहित चार युवा पक्राउ काठमाडौं। प्रहरीले गएराति लागुऔषध सहित चार युवालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका– ६ बस्ने २७ वर्षीय शत्रुधन मुखिया, सर्लाही जिल्लाको लालबन्दी नगरपालिका–४ बस्ने १७ वर्षीय विरेन्द्र मुखिया, १८ वर्षीय सुरेश मुखिया र बरहथवा नगरपालिका–७ बस्ने १४ वर्षीय सुमन श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए । गएराति करीब ८ बजे भारतको बिहार राज्यको सीतामढी जिल्लाको कन्हमा सहरबाट नेपाल आएका उनीहरुलाई औरही नगरपालिका–४ स्थित सडकमा शङ्का लागि जाँच गर्दा लागुऔषधसहित पक्राउ परेका हुन् ।प्रहरीले उनीहरुको साथबाट नेपालमा प्रतिबन्धित नाइट्राभेट ट्याब्लेट ३७५ पिस, स्पास्मो प्रो ८ पिस र डाइलेक्स सिरप ४ बोतल बरामद गरेको छ ।उनीहरूलाई आज बिहान जिल्ला प्रहरी कार्यालयमा ल्याई अनुसन्धान अगाडि बढाएको बताइएको छ ।
इस्वी सन्को नयाँ वर्ष २०२२ काठमाडौं । गे्रगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२२ सुरु हुँदैछ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सन्को सुरुआत भएको भन्ने भनाइ रहेको छ । पोप गे्रगोरीले जुलियन पात्रो अनुसारको सन्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई गे्रगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ । जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए । विवादकै कारण यो पात्रो रुसले २०० वर्षपछि मात्र प्रचलनमा ल्याएको पूर्वप्रशासक एवं ज्योतिषाचार्य डा खिलानाथ बस्ताकोटी बताउँछन् । विवाद भए पनि उपनिवेशकालमा विभिन्न स्थानमा यो संवत् लादेकाले हाल यसको विश्वव्यापी प्रचार छ । यो संवत् नेपालमा प्रचलनमा नभए पनि भ्रमणमा आउने विदेशीले यसको प्रयोग गर्छन् । केही वर्ष अघिदेखि नेपालका विभिन्न स्थानमा इस्वी सन् मनाउने गरिएको छ । विदेशी पर्यटकको भीडभाड हुने काठमाडौँको ठमेल, बौद्ध, पोखरा, सौराहा, लुम्बिनीलगायत स्थानमा अघिल्लो साँझ ‘न्यू इयर इभ’ का नाममा यो संवत् मनाइन्छ ।
चिसोका कारण विद्यालय सञ्चालन गर्न मुस्किल काठमाडौं ।अत्यधिक चिसोका कारण जिल्लाका विद्यालयमा पठनपाठन गराउन समस्या भएको छ । हिमाली तथा उच्च लेकाली क्षेत्रमा अवस्थित विद्यालयमा हिमपातको कारण पठनपाठनमा समस्या भएको हो । माथिल्लो भेगका कतिपय विद्यालय बन्द भएका छन् भने कतिपय विद्यालय खुले पनि पठनपाठन सञ्चालन गर्न सकिएको छैन । कतीपय विद्यालयमा विद्यार्थी सङ्ख्या ह्वात्तै घटेको छ । जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिका–१ मेकोटमा रहेको हिमालय माध्यमिक विद्यालयका प्रधानाध्यापक हस्तिमान पुनले विद्यालयमा पठनपाठन सञ्चालन गर्न नसकेको बताए । अहिले विद्यालयमा साना बालबालिका आउन सकेका छैनन् भने ४१६ जम्मा विद्यार्थी सङ्ख्या रहेकोमा शुक्रबार जम्मा ४०/५० जनाको हारहारीमा विद्यार्थी विद्यालयमा आएको प्रधानाध्यपाक पुनले बताए । अत्यधिक चिसोको कारण उपस्थित विद्यार्थीको लागि पनि पठनपाठन सञ्चालन गर्न नसकेको उनले बताए । पुथाउत्तरगङ्गा गाउँपालिका–२ पेल्मामा रहेको जनता आधारभूत विद्यालय बन्द गरेको विद्यालय परिवारले जनाएको छ । अन्य ठाउँका विद्यालयमा पनि बाक्लो हिउँ जमेका कारण शिक्षक विद्यार्थी विद्यालयसम्म पुग्न मुस्किल हुने गरेको छ । तकसेरामा रहेको महेन्द्र माध्यमिक विद्यालयमा भने कम विद्यार्थीको उपस्थितिमा पठनपाठन सञ्चालन गरिएको पुथाउत्तरगङ्गा गाउँपालिकाका शिक्षा शाखा प्रमुख रामप्रसाद खड्काले बताए।
लागूऔषधसहित पक्राउ काठमाडौं। काठमाडौँबाट लागूऔषधसहित आज एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका–११ लोलाङ बस्ने धादिङ खनियाबास गाउँपालिका–४ का ४६ वर्षीय लेखबहादुर तामाङ रहेका प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनलाई काठमाडौँ महानगरपालिका–३२ नरेफाँटस्थित तरकारी बजारबाट नियन्त्रित लागूऔषध नुर्फिन २८६ एम्पुल, फेनारगन २९२ एम्पुल र डाइजेपाम २८४ एम्पुलसहित पक्राउ गरिएको हो । कोटेश्वरबाट खटिएको प्रहरीबाट पक्राउ परेका उनीमाथि अनुसन्धान थालेको जनाइएको छ । यसैगरी महिलालाई वेटरको काम लगाइदिन्छु भन्दै यौन कार्यमा सङ्लग्न गराएको आरोपमा एक व्यक्तिलाई प्रहरीको मानव वेचविखन अनुसन्धान व्यूरोले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर घर भइ काठमाडौँ–३२ जडिबुटी बस्ने उमेश थापा रहेको व्यूरोले आज एक सूचना जारी गरी जनाएको छ ।
शितलहरबाट सप्तरीको जनजीवन प्रभावित काठमाडौं। चिसो हावासँगै बाक्लो हुस्सु तथा शितलहरका कारण मधेसका जिल्लासहित सप्तरीको जनजीवन कष्टकर बनेको छ ।बुधबार र बिहीबार वर्षासँगै चिसो हावा चलेका कारण अत्यधिक चिसो बढेको हो । शितलहरसँगै अत्यधिक चिसो बढेपछि सर्वसाधारणलाई घरबाट निस्किन समस्या भएको छ । सार्वजनिक ठाउँ बजार, सरकारी तथा गैरसरकारी कार्यालयमा सेवाग्राही घटेको छ भने विद्यालय, कलेजमा विद्यार्थीको न्यून रहेको स्थानीय श्रीराम दासले बताए । बाक्लो कुहिरो र शितलहरका कारण सवारीसाधन पनि कम चल्न थालेका छन् । चिसो बढेपछि मजदुरहरूले मजदुरी गर्न निकेको स्थानीय विष्णुपुर गाउँपालिकाकी निर्मला सदाले बताइन् । उनले भनिन्, ‘हामी मजदुरी गरेर खाने मान्छे शितलहरका कारण मजदुरी गर्न नसकेपछि दुई छाक टार्न समस्या भएको छ ।’ विपन्न परिवारमा न्यानो लुगाको अभावमा जाडोले कठ्याग्रिएर बस्न बाध्य हुनुपरेको स्थानीयको भनाइ रहेको छ । जिल्ला विपद् व्यवस्थापन समिति सप्तरीका अध्यक्ष एवं सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले स्थानीय तह, रेडक्रस सोसाइटी तथा जिल्ला वन कार्यालय सप्तरीसँग समन्वय गरी आवश्यक परेको बेला न्यानो कपडा, दाउरा उपलब्ध गराउने निर्णय भएको बताए । यश सम्बन्धमा प्रदेश नम्बर २ का अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले शितलहरबाट जोगिन पूर्वतयारीबारे प्रदेशका आठवटै जिल्लाका सिडिओ र सुरक्षा निकायका प्रमुखहरू प्रत्यक्ष सम्पर्कमा रहेको बताए । चिसोबाट जोगिन आवश्यक पर्ने न्यानो लुगा र दाउरालगायतको बन्दोबस्तीमा प्रदेश सरकारले समन्वय गरेको मन्त्री साहको भनाई छ । शितलहरबाट सबैभन्दा बढी जोखिममा विपन्न गरिब परिवार मारमा पर्ने भएकाले त्यसलाई लक्षित गरी पूर्वतयारीमा जोड दिएको कुरा बाहिर आए पनि स्थानीय स्तरमा त्यस्तो सुविधा नपाएको स्थानीयको आरोप छ ।
जाडो बढ्दा किन काटियो बिजुली ? काठमाडौं। मङ्गलबार रातिदेखि देशभर नै वर्षा भयो । बुधबार त दिनभर नै पानी पर्‍यो। जाडोको समयमा पानी पर्दा काठमाडौँ वरीपरीमा डाँडामा हिउँ पनि परे । चन्द्रागिरी त हिउँ खेल्नेको भीड नै लाग्यो । तर, यही बेला राजधानीका विभिन्न स्थानमा बिजुली काटियो । पुसको जाडोमा बिजुली काटिँदा धेरैले के भएको हो भनेर जिज्ञासा राखे । सामाजिक सञ्जालमा अघोषित लोडसेडिङ भएको त होइन भनेर चासो उत्पन्न भयो । विशेषगरी नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई प्रश्न तेस्र्याउँदै उपभोक्ताले चासो राखे । जाडोको समयमा सकेको जति बिजुली चलाऊ भन्दै आएको प्राधिकरणले किन बिजुली काटियो भन्ने बारेमा उपभोक्तालाई जानकारी त दियो, तर सबैले थाहा पाउन सकेनन् । वर्षात्का काराण बुधबार २०० मेगावाट बराबरको बिजुली प्रणालीले उपलब्ध गराउन कठिनाइ भयो । त्यसकारण उपभोक्तामा के भएको होला वा के गरेको होला भनेर चिन्ता वा चासो व्यक्त हुनु स्वभाविक नै थियो । आम रूपमा चासो व्यक्ति भए पनि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आज पत्रकार सम्मेलनको आयोजना गर्दै भने, “एकै पटक धेरै स्थानमा ट्रान्सफर्मरहरूमा समस्या देखा परेकाले केही जटिलता पैदा भयो । पानीका कारण कतिपय स्थानमा समयमै मर्मत गर्न पनि कठिनाई भयो । त्यसकारण उपभोक्ताको तहबाट चासो हुनु स्वभाविक नै हो ।”उनले बिजुलीको खपत बढेकाले ट्रान्सफर्मर परिवर्तन गर्दा बिजुली गइरहने समस्या भएको जानकारी दिए । प्राधिकरणको आग्रह अनुसार नै बिजुलीको खपत बढेकाले ट्रान्सफर्मर परिवर्तन गर्दा केही स्थानमा समस्या उत्पन्न भएको र त्यो समस्या आजदेखि समाधान हुने उनको भनाइ छ । उनले बिजुलीको आपूर्ति नभएर वा नपुगेर बत्ती जाने समस्या नभएको स्पष्ट पार्दै जति माग आए पनि उपलब्ध गराउन सक्ने अवस्थामा प्राधिकरण रहेको बताए । उनले काठमाडौँ उपत्यका भित्रको बिजुलीको माग व्यवस्थापनका लागि विभिन्न स्थानमा नौ वटा सबस्टेशन निर्माणको क्रममा रहेकाले ती सम्पन्न भएपछि दुई हजार मेगावाट बराबरको बिजुली उपलब्ध गराउन सकिने तथ्याङ्क पेश गरे । “दीर्घकालीन रूपमा काठमाडौँ उपत्यकामा २ हजार मेगावाट बराबर बिजुली उपलब्ध गराउने गरी काम भइरहेको छ”, उनले भने, “केही ट्रान्सफर्मर लोडअनुसार फेरिरहेको र केही फिडरहरूमा आगलागी भएको कारणले समस्या आइलागे ।” उनले पछिल्ला केही दिनदेखि आपूर्ति व्यवस्थापनमा समस्या आएको जनगुनासो आएको र त्यो देशभर नभई काठमाडौँमा मात्रै भएको दावी गरे । उनले भने, “यो सप्लाइको कारणले उत्पन्न भएको समस्या होइन । सप्लाई नपुगेकाले हामीले आपूर्ति नभएको पनि होइन । काठमाडौँका सबै ठाउँमा यो समस्या आएको पनि होइन । केही ठाउँहरूमा मात्र समस्या भएको हो ।” उनले साँझको समयको अधिकतम माग हाल एक हजार ७०० मेगावाट र बिहान एक हजार ५५० मेगावाटदेखि एक हजार ६०० मेगावाटको हाराहारीमा रहेको जानकारी दिए । माथिल्लो तामाकोशी सञ्चालनमा आएपछि बिहान र बेलुकाको अधिकतम माग व्यवस्थापनमा सहज भएको जानकारी दिँदै उनले बढी माग हुने साँझ बिहानको समयमा व्यवस्थापन गर्न सहज भएको बताए । राजधानीमा जाडो बढेपछि बिजुलीको माग बढ्नु स्वभाविक रहेको उनको भनाइ छ ।
प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा कमी काठमाडौं। अघिल्लो वर्षको तुलनामा यस वर्ष नेपालमा प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा कमी आएको छ । सन् २०२० मा ९६ वटा प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना घटेकामा सन् २०२१ मा सो सङ्ख्या ५९ रहेको छ । ‘फ्रिडम फोरम’ले तयार पारेकोे वार्षिक मिडिया प्रतिवेदनअनुुसार यस वर्ष नेपालमा प्रेस स्वतन्त्रता उल्लङ्घनका ५९ घटनाबाट ८३ सञ्चारकर्मी प्रभावित भएका छन् । यस वर्ष आक्रमण/हातपातमा २०, समाचार सङ्कलन रोक र तोडफोडमा २०, दुव्र्यवहारमा २०, ज्यान मार्ने र धम्कीमा १५, प्रहरीद्वारा पक्राउमा सात र समाचार लेखेकै भरमा एक पत्रकारविरुद्ध मुद्दा चलाइएको छ । ति घटनामा २४ सञ्चारकर्मी सुरक्षाकर्मीबाट, १५ सरकारी कर्मचारीबाट, १० राजनीतिक व्यक्तिबाट, चार गुण्डागर्दीमा संलग्नबाट र अन्य व्यक्तिबाट ३० सञ्चारकर्मी प्रभावित भएको तथ्याङ्क छ । सबैभन्दा बढी २९ प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना बागमती प्रदेशमा रहेका छन् । प्रदेश नं २ र कर्णाली प्रदेशमा सात–सात, लुम्बिनी प्रदेशमा ६ वटा, गण्डकी र सुदूरपश्चिम प्रदेशमा चार–चार र प्रदेश एकमा दुई प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना छन् । मिडियामैत्री कानुनको निर्माण नहुनु, राजनीतिक व्यक्तिबाट प्रेस स्वतन्त्रताविरुद्धका घटनामा कमी ल्याउन पहल नहुनु, पत्रकारविरुद्ध भएका दण्डहीनता अन्त्यको गति सुस्त हुनु, पत्रकार तथा नागरिकलाई नियन्त्रण गर्न विद्युतीय कारोबार ऐनको दुरुपयोग गर्नुलगायत कारणले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता अझै खतरामा रहेको फ्रिडम फोरमका प्रमुख कार्यकारी तारानाथ दाहालले बताए । प्रतिवेदनमा प्रतिनिधि घटनाका रुपमा समाचार लेखेकै कारण काठमाडौँबाट पत्रकार अनिश तामाङ पक्राउ, गोरखापत्र दैनिकको अनलाइन संस्करणबाट पत्रकार घनश्याम भट्टको लेख हटाइएको, सर्वोच्च अदालतले समाचारको विषयमा पत्रकारद्वय राजन कुइँकेल र नारायण अमृतलाई सोधपुछका लागि बोलाएको, समाचार सङ्कलनका क्रममा फोटो पत्रकार निमेशजङ्ग राईलाई प्रहरीद्वारा साङ्घातिक कुटपिट, स्थानीय समाचारको विषयमा धनुषाका पत्रकार सुरेन्द्रकुमार यादवमाथि कुटपिट प्रतिवेदनमा समावेश गरिएको छ । अवैध गिट्टी बालुवा ओसारपसारको समाचारको विषयमा बाँकेका पत्रकार हेमन्त चौधरीमाथि कुटपिटलगायतका घटना पनि उल्लेख गरिएको छ ।
बाघको आक्रमणबाट महिलाको मृत्यु काठमाडौं। नवलपुरको मध्यबिन्दु–१२ मा आज बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । बाघको आक्रमणबाट मध्यबिन्दु–१२, अरुणखोला निवासी ३९ वर्षीया बरिसा सारुको मृत्यु भएको हो । बिहान स्थानीय वनमा साग टिप्न जानुभएकी सारुलाई बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर पन्तले बताए । सारूसँगै गएका अन्यले घटनाबारे जानकारी गराएपछि प्रहरीको टोली त्यहाँ पुगेको थियो । घटनास्थल अरुणखोला– दुम्कीबास सडकखण्डभन्दा करिब ५०० मिटर दक्षिणतर्फ रहेको प्रहरीले जनाएको छ । नवलपुरमा यसअघि मङ्सिर दोस्रो साता बाघको आक्रमणबाट विनयी त्रिवेणी गाउँपालिका–१, मा स्थानीय सामुदायिक वन रक्षकको मृत्यु भएको थियो । सो घटनास्थल र आजको घटनास्थल केही दूरीको फरकमा छ । वन आसपासमा बाघको आतङ्क बढेको भन्दै विनयी त्रिवेणी गाउँपालिकाले केही दिन अगाडि मात्रै एक सूचनामार्फत वन क्षेत्रमा नजान स्थानीयवासीलाई अनुरोध गरेको थियो । बाघको आक्रमणबाट थप एक जनाको मृत्य भएपछि चिन्तित स्थानीयवासी बाघलाई नियन्त्रण गरी निकुञ्ज क्षेत्रमा लैजान पहल गर्नुपर्ने माग गर्न थालेका छन् ।
बालबालिकालाई विद्यालयमै खोप काठमाडौं। कोभिड विरुद्धको खोप व्यवस्थापन गर्ने क्रममा स्वास्थ्य कार्यलय उदयपुरले स्थानीय पालिकामार्फत जिल्लाको नगरपालिका र गाउँपालिकाको विद्यालयमा नै बालबालिकाको लागि खोप दिन थालेको छ । बुधबारदेखि जिल्लाको त्रियुगा, कटारी, चौदण्डीगढी, बेलका नगरपालिकासहित पहाडी क्षेत्रको रौतामाई, उदयपुर गढी, ताप्ली, लिम्चुङबुङ, गाउँपालिकाका विद्यालयमा नै विद्यार्थीलाई खोप दिन सुरु गरिएको हो । ५५ हजार डोज मोडर्ना खोप जिल्लामा उपलब्ध भएपछि पहिलोपटक १२ वर्षभन्दा माथि र १७ वर्षसम्मका बालबालिकामा यो खोप दिन सुरु गरिएको स्वास्थ्य कार्यालय उदयपुरका खोप सुपरभाइजर चीरञ्जीवी निरौलाले बताए । बुधबार पहिलो दिननै सात हजार विद्यार्थीलाई यो खोप प्रदान गरिएको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले बताए ।
बैतडी पुगेका योजना आयोग उपाध्यक्ष पौडेलसँग सडक र ग्रामीण विकासका योजना माग काठमाडौं। सुदूरपश्चिमको बृहत्तर विकास योजनाको खाका तयार गर्ने क्रममा बिहीबार बैतडी पुगेका राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलसँग बैतडी जिल्लाका सरोकारवालाहरूले सडक निर्माण तथा सडकहरूको स्तरोन्नतिको माग राखेकाछन् । बिहीबार जिल्लाको पाटनमा आयोजित कार्यक्रममा सहभागी बैतडीका सरोकारवालाले दशरथचन्द राजमार्गको दिगो रूपले स्तरोन्नति र ग्रामीण सडक कालोपत्रेको माग राखेकाछन् । कार्यक्रममा सहभागी प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेले भने,‘बैतडीका मुख्य सडक मध्ये दशरथचन्द राजमार्ग र महाकाली राजमार्ग कालोपत्रे भत्किएका ठाउँहरूमा टालो हाल्ने काम भइरहेको छ । तर, फेरी भत्किँदै गएको छ । त्यसैले त्यसलाई दीर्घकालीन रूपमा स्थापित गर्न फेरी मजबुत योजना बनाउन जरुरी छ । यसतर्फ म आयोगको ध्यानाकर्षण गराउँछु ।’ यसैगरी जिल्लाका सबै स्थानीय तहलाई जिल्ला सदरमुकामसँग जोड्ने सडकहरू स्तरोन्नति गर्न जरुरी रहेकाले यसतर्फ आयोगको ध्यानाकर्षण गराए । जिल्लाको सूर्नया गाउँपालिका अध्यक्ष वीरबहादुर विष्टले हरेक स्थानीयतहमा बन्दै गरेका चक्रपथहरूका स्तरोन्नति गर्नका लागी योजना बनाउन आग्रह गरे । उनले भने,‘ग्रामीण विकासमा सरकारको ध्यान केन्द्रित हुनु जरुरी छ । त्यसका लागी सडक पहिलो प्राथमिकता हो । प्रायः स्थानीयतहहरूले पालिकाको केन्द्रसम्म पुग्न चक्रपथ निर्माण गरिरहेकाछन् । यी सडकहरूलाई स्तरोन्नति गर्न जरुरी भएकाले दीर्घकालीन योजना बनाउन आयोगको ध्यानाकर्षण गराउँछु ।’कार्यक्रममा जिल्ला स्थित सबै स्थानीय तहका प्रमुख तथा प्रतिनिधि र सबै सरकारी तथा विकासे कार्यालयका प्रमुखको सहभागिता थियो । यातायात, बिद्युत्, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन प्रवर्धन लगायतका योजनाहरू निर्माणमा ध्यान दिन बैतडीका सरोकारवाला निकायका व्यक्तिले माग गरेका छन् । आयोगका उपाध्यक्ष पौडेलले जनता र सरोकारवालासँगको छलफलपछि विकासको खाका तयार गरिने भन्दै छलफलमा उठेका विषयमा ध्यान केन्द्रित भएको बताए । विकासमा जनताको प्रत्यक्ष सहभागिता हुनुपर्नेमा उनको जोड थियो । सरकारले पश्चिम सेती जलविद्युत आयोजना निर्माण गर्ने उनले बताए । बाढी पहिरोले सरकारी संरचना भत्काएको तथा जनताको जीवन अस्तव्यस्त पारेको भन्दै पीडितको पुनर्स्थापनाको माग राखेका सरोकारवाला निकायसँग उपाध्यक्ष पौडेलले यसका लागि योजना निर्माण हुने आश्वासन दिए । आयोगका उपाध्यक्ष पौडेलले कार्यालय प्रमुखहरू र नेपाली कांग्रेसका नेता तथा कार्यकर्तासँग गरी दुई ओटा छुट्टा छुट्टै कार्यक्रम गरेका थिए ।
निर्वाचन अधिकृतको कार्यालय उद्घाटन काठमाडौं। राष्ट्रियसभा निर्वाचनका लागि धनगढीमा निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरिएको छ । यही माघ १२ गतेदेखि हुन गइरहेको राष्ट्रियसभा निर्वाचनका लागि कार्यालयको उद्घाटन गरिएको हो । जिल्ला न्यायाधीश तथा निर्वाचन अधिकृत जयानन्द पनेरुले कार्यालय उद्घाटन गरेका हुन् । राष्ट्रियसभाको पहिलो निर्वाचन र दोस्रो, २०७५ को निर्वाचन डोटी जिल्लामा गरिएको थियो । यस वर्ष भने राष्ट्रियसभाको निर्वाचन धनगढीमा गरिने भएको हो । सुदूरपश्चिममा रिक्त हुने तीन पदका लागि ५२ जना प्रदेशसभा सदस्य, एक सय ७५ जना स्थानीय तहका प्रमुख र उपप्रमुखसहित दुई सय २७ जना मतदाता रहेका छन् । उनीहरूको मतभारका आधारमा राष्ट्रियसभा सदस्य चयन हुनेछ । प्रदेशमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका जनप्रतिनिधि रहेका छन् ।कार्यालय उद्घाटन गर्दै निर्वाचन अधिकृत पनेरुले मतदाता नामावली प्रकाशन भइसकेपछि निर्वाचन प्रक्रिया अघि बढ्ने बताए । उनका अनुसार यही पुस १७ गते मतदाता नामावली प्रकाशन गर्ने र उम्मेदवारी दर्ता प्रक्रिया अघि बढाइनेछ । सुदूरपश्चिम प्रदेशमा तीन पदका लागि निर्वाचन हुनेछ । प्रदेशसभा सचिवालयमा दुईवटा मतदानकेन्द्र स्थापना गरी मतदान गराइने निर्वाचन अधिकृत पनेरुले बताए । मतदानकेन्द्रमा तीनवटा मतपेटिका राखिनेछन् ।
आगलागीबाट दश लाखको क्षति काठमाडौं।सप्तरीको तिरहुत गाउँपालिका–३ मा आज भएको आगलागीबाट रु दश लाखभन्दा बढीको क्षति भएको छ । स्थानीयवासी हेमनारायण साफीको घर र किराना पसल तथा मेडिकल ल्याब रहेको अर्को घरमा विद्युत सर्ट भएर आगलागी हुँदा सो क्षति भएको हो । आगलागीबाट औषधि, दुई गोरु, पाँच बाख्रा, ल्यापटप, साइकल, अन्न, लत्ताकपडालगायतका सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीयवासी र प्रहरीले आगो निभाएका थिए ।
अनुदानमा आएको ३५ बोरा युरिया मल बिक्री गर्न खोज्ने दुई जना पक्राउ प्यूठान। किसानहरुका लागि अनुदानमा आएको मल बिक्री गर्न खोज्ने दुई जना पक्राउ परेको छ। पक्राउ पर्नेमा शिवराज नगरपालिका–३ खरेन्द्रपुरका विवश क्षेत्री तथा सोही ठाउँका केशर महतरा रहेका छन् । प्यूठान नगरपालिका-९ मरन्ठानाको दीर्घायू कृषि सहकारी लागि आएको अनुदानको ३५ बोरा युरिया मल कपिलवस्तुको चन्द्रौटातर्फ बिक्रीका लागि पठाउँदै गर्दा प्यूठान-८ बाग्दुलाबाट मलसहित उनीहरुलाई पक्राउ गरेको हो । लु १ च ६१७१ नम्बरको पिकअप जिपमा मल बाहिर लग्दै गर्दा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख सत्यनारायण थापाले जानकारी दिए । सहकारीका अध्यक्ष दीपेन्द्र केसीले सहकारीले तोकेको बिक्रेताबाट गल्ती भएको स्वीकार गरेका छन् ।
भक्तपुरमा कार दुर्घटना हुँदा एकको मृत्यु काठमाडौं।भक्तपुरबाट तीव्र गतिमा काठमाडौँतर्फ जादै गरेको कार दुर्घटना हुँदा एकको मृत्यु भएको भएको छ भने दुई जना घाइते भएका छन् ।मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटोस्थित अरनिको राजमार्ग खण्डमा तीव्र गतिमा काठमाडौँ जाँदै गरेको बा ४ च ५७६ नम्बरको कार सडकको बीचमा रहेको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको थियो । सो कारले गुडिरहेको अर्को ट्याक्सीलाई समेत ठक्कर दिँदा कारमा सवार धनुषा जनकपुर उपमहानगरपालिका–१५ घर भई काठमाडौँ महानगरपालिका शान्तिनगर बस्ने वर्ष २२ का अभिषेक शाहको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए । दुर्घटना भएलगत्तै घाइते भएका तीनै जानलाई उपचारका लागि मध्यपुर अस्पताल लगिएकामा उपचारकै क्रममा शाहको गए राति मृत्यु भएको उनले जानकारी दिए । दुर्घटनामा कार चालक सिन्धुली कमलामाई नगरपालिका–१२ का २५ वर्षीय सविन घिसिङ गम्भीर घाइते भएका छन् । घाइते घिसिङको मध्यपुर अस्पतालमा गम्भीर अवस्थामा उपचार भइरहेको उनले बताए । डिभाइडरमा ठोक्किएर पुनः ट्याक्सीसँग ठोक्किएपछि घाइते भएका ट्याक्सी चालक रामेछापको मन्थली नगरपालिका–१२ घर भई हाल ललितपुर बस्ने ३२ वर्षीय भीमसेन खत्री भने राति उपचारपछि घर फर्किएको उनले जानकारी दिए । डिभाइडरमा ठोक्किएको कार पूर्णरुपमा क्षति भएको छ ।
आज सफला एकादशी : थाहा पाउनुहाेस् तपाईंकाे राशिफल काठमाडाैं। १५ पुस, ३० डिसेम्बर बिहीबार । सन् २०२१ को दोस्रो अन्तिम दिन । पौषकृष्णपक्ष, आज सफला एकादशी भनिन्छ । एकादशीको दिन विशेषगरी व्रत गर्ने र अन्न ग्रहण नगर्ने फलाहार लिने चलन छ । वर्षमा २४ एकादशी हुन्छन् हरेक एकादशीको फरकफरक महत्व रहेको छ । सफला एकादशी नामले पनि पुष्टि हुन्छ, एकादशीको व्रत गर्ने व्यक्तिले अन्य व्रत गरिरहनु पदैन भन्ने मान्यता पनि रहेको छ । आज तमुल्होसार पनि हो । सो अवसरमा सरकारले सार्वजनिक विदा दिने निर्णय पनि गरेको छ । आजको दिन विशाखा नक्षत्र, बृति योग, चन्द्रमा तुला राशिमा छ । सूर्योदय बिहान ६ः५५ बजे भएकाे छ भने १७ः१७ बजे सूर्यास्त हुनेछ । बिहीबारको दिन अध्ययन, अध्यापन र अनुसन्धानको कामको लागि उपयुक्त मानिन्छ । बिहान ११ः४६ देखि १२ः२७ सम्मको समय अभिजित मुहूर्त रहेको छ भने १ः२५ देखि २ः४३ सम्मको समय राहुकाल रहेको छ । त्यसैले राहुकालको समयमा कुनैपनि शुभ कार्य नगर्नुहोला भन्ने ज्योतिषशास्त्रका सल्लाह छ । आजको देवता जलदेवी र ग्रहदेव राहु रहेको छ । बिहीबारको दिन धातुका सामान खरिद, धार्मिक कार्य र आर्थिक कारोबारका लागि उपयुक्त मानिन्छ । मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : सामाजिक र धार्मिक कार्यबाट मानसम्मान मिल्नेछ । तपाईंको स्वास्थ्यमा सुधार हुनेछ, आफूभन्दा उच्चव्यक्तिबाट प्राप्त हुने सम्मानले मनमा नयाँ काम गर्न मन लाग्नेछ । आजको दिन शुरुवात गरेको काम यसै साता भित्र सम्पन्न हुनेछ । गुरुजनको आशीर्वादको कार्यसफलता मिल्नेछ । वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : आजको दिन आकस्मिक धनलाभ हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । परिवार र दाम्पत्य जीवनमा सुख प्राप्त हुनाका साथै यात्राको अवसर प्राप्त हुनेछ । यात्राबाट फाइदा हुनेछ । मनमा सकारात्मक सोच र खुसी हुने खबरले उत्साह थपिने छ । आजको दिन कुनै देवालय र शिवालयको यात्रा गर्नुहोला । मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : मनमा खुसियाली छाउने छ । घर परिवार र आफन्तसँग केही विषयमा विवाद हुनसक्छ । त्यसैले आजको दिन कम बोल्ने र अर्काका कुरा सुन्ने गर्दा राम्रो हुनेछ । राम्रो काम गर्न खोज्दा पनि अनावश्यक आरोप लाग्न सक्छ । कामअनुसारको फल प्राप्त हुनेछ । सकारात्मक सोच राखेर गरिएको हरेक काम सफलता मिल्नेछ । कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : आजको दिन यात्रा गर्न लाग्नु भएको छ भने यात्राबाट फाइदा हुनेछ । सोचअनुसारको काम गर्दा फाइदा हुन्छ । व्यापारमा नयाँ लगानी गर्नु पनि सकिन्छ । अध्ययनअध्यापनमा लागेका कर्कट राशिका जातकका लागि नयाँ अवसर प्राप्त हुनेछ । आजको दिन आफूले सम्मान गर्ने व्यक्तिसँगको सल्लाह अनुसारक काम गर्दा फाइदा हुनेछ । सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : बिहीबार बिहान सूर्योदयको दर्शन गर्नुहोला । अनावश्यक विवाद हुनसक्छ । आजको दिन कसैसँग विवाद नगर्नुहोला । पारिवारिक समस्याका कारण मनमा अनेक समस्या उत्पन्न हुनसक्छ । मौन रहेर आफ्नो नियमित कार्य गर्नुहोला । कसैसँग विवाद हुनसक्ने भएकाले नियमित काम बाहेक नयाँ कामका लागि दिन त्यति उपयुक्त छैन । घर परिवारमा सुमधुर सम्बन्ध हुनेछ । कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : आजको दिन यात्राको लागि अवसर आउनसक्छ । नयाँ कार्ययोजना बन्नेछ । आफन्त र मित्रजनबाट साथ र सहयोग प्राप्त हुनेछ । आजको दिन नयाँ बस्त्र खरिद गरेर लगाउन राम्र्रो हुनेछ । आजको दिन कुनै देवी मन्दिरको दर्शन गरेर काम गर्नु थाल्नुभएको छ भने सोचअनुसारको प्रतिफल प्राप्त हुनेछ । कुमारी कन्यालाई खाना र बस्त्र दान दिनुभयो भने राम्रो हुनेछ । तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) : आजको दिन सोचअनुसार काम हुनेछ । व्यापारमा हुनुहुन्छ भने आजको दिन फाइदा हुन्छ । चन्द्रमाको साथ रहेको छ, त्यसैले बिहान सूर्योदयको दर्शन गर्नु राम्रो हुनछे । सकारात्मक सोच राखेर काम गर्नुहोला । परिवार र आफन्तजनबाट समेत सहयोग हुनेछ । कुनै शिवालय वा देवालयमा गएर असक्तलाई खानेकुरा दिनुभयो भने उत्तम हुनेछ । आकस्मिक धन प्राप्ति समेत हुनेछ । वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : आजको दिन सूर्योदयको दर्शन गरेर दिनको शुरुवात गरेका तपाईँका अधुरा काम पूरा हुनेछन् । कुनै नयाँ कामको शुरुवात समेत गर्न सक्नुहुनेछ । आजको दिन सुरु गरेको कामबाट सफलता प्राप्त हुनेछ । तपाईँमाथि अनावश्यक आरोप लाग्नसक्छ त्यसैले आफ्नो नियमित काम गर्दा सकात्मक सोच राखेर काम गर्नुहोला । परिवारमा हुने विवादले समस्या हुनसक्छ त्यसैले धैर्य, मौन र व्रत राख्नु वेश हुनेछ । धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : परिवार तथा आफन्तजनको साथ सहयोगले कार्ययोजना सफल हुनेछ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । आजको दिन ब्यर्थमा समय खर्च र अनावश्यक आर्थिक भार थप हुनेछ । मित्रमण्डलीबाट असहयोग हुनसक्छ त्यसैले कसैको साथ नहुँदा पनि मनमा उर्जाका लागि देवालय र शिवालयको दर्शन गर्नु भएमा मनमा उत्साह थपिने छ । मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : आजको दिन सोचेअनुसारको काम हुने भएकाले नयाँ काम गर्नसक्नुहनेछ । मनमा निकै हर्ष छाइरहने छ विहान सूर्यनारायणलाई जल दिएर दर्शन गर्नुभयो भने दिन सफल हुनेछ । आजको दिन अध्ययनअध्यापनमा सफलता मिल्नेछ । मकर राशिका जातकको लागि रचनात्मक काममा मन लाग्नेछ । अध्ययनमा समय विताउनुभयो भने उर्जा थपिने छ । नभए गुरुजनको आशीर्वाद सुन्नुहोला । कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : मनमा खुसी छाउने छ । कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम र शत्रुमाथि विजय प्राप्ति हुनेछ । ब्यापारबाट बाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुभयो भने मानसम्मान मिल्नेछ । सामाजिक काम गर्न इच्छा जाग्नेछ । यात्राको लागि अवसर आउने छ । धार्मिक तीर्थस्थलीको यात्राले मनोइच्छा पूरा हुनेछ । मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : मीन राशिमा जातकले बिहीबार बिहान सूर्योदयको दर्शन गरेर नजिक वा देवालयको दर्शन गर्नु उत्तम हुन्छ । अध्ययन अध्यापनको क्षेत्रका कार्य गर्ने जातकले आजको दिन बिहान सूर्यस्तोत्र पाठ गर्दा सकारात्मक सोच बढ्नेछ । बिहीबार विशेष दिन हो । ध्यान, जप, साधनाले नैं तपाईको मनमा सकारात्मक उर्जा भरिनेछ ।
सत्र दिनदेखि बेपत्ता बालक मृत फेला काठमाडौं। विगत १७ दिनदेखि बेपत्ता भएको एक बालक मृत अवस्थामा फेला परेका छन् । गत मङ्सिर २४ गते घरबाट गोरु चराउन घरबाट निस्किएका पर्वतको मोदी गाउँपालिका–६ तिलाहारका १२ वर्षीय सन्देश लामिछाने मङ्गलबार साँझ मृत भेटिएका हुन् । पर्वतका प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीका अनुसार मङ्सिर २४ गते दिउँसो घरबाट गोरु फुकाएर चराउन निस्किएका बालक सोही दिन बेलुका गोरु फर्किएको र उनी नफर्किएपछि गाउँलेहरूले खोजी सुरु गरेका थिए । फेला नपरेपछि डिमुवा प्रहरी कार्यालयमा २७ मङ्सिरमा खबर गरेका थिए । प्रहरी नायब उपरीक्षक बुढाथोकीका अनुसार सुस्त मनस्थिति र बोलीमा समस्या भएका कारण उनको उद्धार समयमा हुन नसकेको हो । ‘बोल्न सकेको भए खोजीमा जाने व्यक्तिले पत्ता लगाउन सहज हुन्थ्यो’, बुढाथोकीले भने,’बोल्न नसकेपछि कतै झाडीमा अल्झिएर यत्तिकै बेपत्ता भएपछि जङ्गली जनावरले फेला पारेको हुनुपर्छ ।’ जङ्गली जनावरले शरीरका विभिन्न अङ्ग खाएको अवस्थामा शव फेला पारेको उनले बताए । बालक रात्माटा र दराकको बीचमा पर्ने खोपी भन्ने स्थानमा मृत भेटिएका हुन् । उनको मृत्युको यथार्थ विवरण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
२२० जना नयाँ सङ्क्रमित थपिए, २ जनाको मृत्यु काठमाडौं । पछिल्लो २४ घण्टामा २२०जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । ६ हजार ४३३ जनामा पीसीआर परीक्षण गरिएकोमा २०९ जनामा र १ हजार १७५ जनामा एन्टीजेन परीक्षण गर्दा ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९८ प्रतिशत रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा २५३ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सोही अवधिमा २ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५९० पुगेको छ । यसैगरी देशमा हालसम्म ४ हजार ४६४ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
हिमपातले मध्यपहाडी मार्ग अवरुद्ध काठमाडौं। मङ्गलबार रातिदेखि परेको वर्षा र हिमपातका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ । लोकमार्गको बुर्तिबाङ–पातिहाल्ने खण्ड अवरुद्ध भएको हो । जिल्लाको निसीखोला गाउँपालिका–६ सिपमा दुई फिट भन्दा धेरै हिमपात भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सडक अवरुद्ध हुँदा पूर्वी रुकुमबाट बागलुङ र बागलुङदेखि पूर्वी रुकुमका लागि छुटेका सवारीसाधन सडकमै अलपत्र परेका छन् । हिउँ जमेकाले सडक पूर्ण रुपमा अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक इकबाल हवारीले जानकारी दिए । भारी हिमपातले मानवीय क्षति नभएको उनले बताए ।
ट्रकले कारलाई ठक्कर दिँदा बैंक म्यानेजरको मृत्यु, दुई जना घाइते कपिलवस्तु। कपिलवस्तुको बाणगंगामा ट्रकले कारलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बाणगंगा नगरपालिक- १ पिपराका अनुराग पाण्डेकाे दुर्घटनामा ज्यान गएकाे जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक दिलीप क्षेत्रीले जानकारी दिए । उनी साइन रेसुङ्गा डेभलपमेन्ट बैंक जितपुर शाखाका म्यानेजरसमेत थिए । बा ६ च ११६४ नम्बरको कारलाई ट्रकले ठक्कर दिँदा बससँग जुधेर दुर्घटना भएकाे हाे । मंगलबार राति भएकाे दुर्घटनामा सुदीप खनाल र राजेश शर्मा गम्भीर घाइते रहेका छन् । पाण्डे कपिलवस्तु जेसिजका पूर्वअध्यक्ष समेत हुन् ।
प्रशिक्षक भट्ट भन्छन्- ऐतिहासिक दोस्रो स्वर्ण पदक दिलाउन सफल भएकोमा खुसी छु काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोलीका मुख्य प्रशिक्षक जगदीश भट्टले ऐतिहासिक दोस्रो स्वर्ण पदक दिलाउन सफल भएकोमा खुसी व्यक्त गरेका छन् । मंगलबार बंगलादेशको ढाकामा सम्पन्न प्रतियोगिताको प्रतिस्पर्धात्मक फाइनलमा उज्बेकिस्तानलाई ३–२ सेटमा पराजित गर्दै नेपालले लगातार दोस्रो पटक एभिसी सेन्ट्रल जोनको उपाधिमाथि कब्जा जमाएको थियो । ‘राष्ट्रलाई भलिबल खेलमार्फत ऐतिहासिक दोस्रो स्वर्ण पदक दिलाउन सफल भएकोमा खुसी छु । हामीले अत्यन्तै दबाबमा खेल्नुपर्‍यो । तर अन्ततः नेपाललाई जित दिलाउन सफल भयौँ । गत वर्ष समेत टोलीलाई प्रशिक्षण दिएका भट्टले भने । महिला टोलीले दुई वर्षअघि यसै प्रतियोगितामा माल्दिभ्सलाई सोझो सेटमा हराउँदै भलिबलमा ऐतिहासिक पदक हासिल गरेको थियो । प्रतियोगिताको समूह चरणको खेलमा उज्बेकिस्तानविरुद्ध सोझो सेटमा जित निकालेको नेपाललाई फाइनलमा उज्बेकिस्तानले निकै चुनौती दिएको थियो । ‘खेलाडीले जित्नैपर्ने दबाबमा खेले । रिसिब गर्न नसक्दा र सर्भिस धेरै बिग्रँदा उज्बेकिस्तानसँग पाँच सेट खेल्नु परेको हो,’ प्रशिक्षक भट्टले भने । भट्टकै प्रशिक्षणमा महिला भलिबल टोलीले १३ औं दक्षिण एसियाली खेलकुद ९साग०मा पहिलो पटक रजत पदक जितेको थियो । घरेलु भूमिमा सुरुआती २ सेट जितेको नेपाल पछिल्लो तीन सेट भने भारतलाई बुझाउँदै अर्को ऐतिहासिक अवसरबाट चुकेको थियो ।
३६ लाख बराबरको ब्याट्री बरामद काठमाडौं। जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)ले रु ३६ लाख बढीको ब्याट्री बरामद गरेको छ । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको वाग्मती प्रदेश०३–००१ ख १५५२ नम्बरको ट्रकबाट प्रहरीले कागजागत बिनाका ब्याट्री बरामद आज गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लले कावासोती–८ थाना चोकमा सवारीसाधनको सुरक्षा जाँच गर्ने क्रममा उक्त ट्रकमा लोड भई आएका विभिन्न आकारका बिल कागजात नभएका २४.१६० टन पुराना ब्याट्री बरामद गरिएको जानकारी दिए । प्रहरीले बरामद गरेको ब्याट्रीको मूल्य रु ३६ लाख २४ हजार रहेको मल्लले बताए । प्रहरीले ब्याट्रीसहित ट्रक चालक सर्लाहीको मलङ्गवा नगरपालिका–२ घर भएका २७ वर्षीय प्रमोद राय, ट्रकमा सवार रौतहटको परौवा नगरपालिका–६ का ४७ वर्षीय नीरजकुमार जैसवाल र सर्लाहीकै मलङ्गवा–२ का आकाश कुमारलाई नियन्त्रणमा लिएको मल्लले जानकारी दिए । नियन्त्रणमा लिइएका तीनै जना व्यक्ति तथा ब्याट्री र ट्रकलाई प्रहरीले आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाएको मल्लले बताए ।
वर्षा र हिमपातको सम्भावना काठमाडौं। हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीका कारण अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना रहेको छ । महाशाखाले आगामी २४ घण्टाका लागि चेतावती तथा परामर्श जारी गर्दै देशभर चिसो बढ्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ । देशको पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको तथा देशका पहाडी भूभागको केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । रातिको समयमा देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्ष र उच्च हिमाली तथा पहाडी भेगमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी भेगमा बाक्लो तुवाँलो लागेको छ भने तराईका कतिपय स्थानमा हुस्सु/कुहिरो लागेको छ । बुधबार पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली तथा पहाडी भेगमा हल्का हिमपातको सम्भावना रहेको छ । महाशाखाको पछिल्लो विवरणमा काठमाडौँको न्यूनतम तीन दशमलव छ र अधिकतम तापक्रम १५ दशमलव दुई डिग्री सेल्सियस रहेको छ ।
रौतहटमा जन्ती बोकेको जीप दुर्घटना, पाँच जनाको मृत्यु काठमाडौं। रौतहटमा जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् । जन्ती लिएर सदरमुकाम गौरबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको भारतीय बीआर ०५ पीए ६९५३ नम्बरको जीप गरुडामा दुर्घटना भएको हो । दुर्घटनामा बाराको गढीमाई नगरपालिका–४ का मुसाफिर अन्सारी र सोही ठाउँका शेख छोटुको घट्नास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीले जानकारी दिए । अन्य तीन जनाको स्थानीय स्वास्थ्य चौकीमा उपचारका क्रममा ज्यान गएको हो । तीनै जनाको सनाखत हुन नसकेको भण्डारीले बताए । घाइते तीन जनाको गरुडा अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।