content
stringlengths
31
27.4k
वालुवाटारमा गठबन्धनको बैठक जारी काठमाडौं। सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक जारी छ। वालुवाटारस्थित प्रधानमन्त्री निवासमा पाँच दलीय गठबन्धन बसिरहेकाे हाे। स्थानीय तहको निर्वाचनमा कसरी गठबन्धन गर्ने भन्ने मोडालिटीका बारेमा छलफल गर्नका लागि सो बैठक बसेको हो। १७ चैतमा बसेकाे गठबन्धनको बैठकले निर्वाचनमा तालमेल गर्ने निर्णय गरेकाे थियाे।
चुनावी तालमेलकाे माेडालिटी तय गर्न सत्ता गठबन्धनको बैठक बस्दै काठमाडौं। सत्तारूढ पाँच दलीय गठबन्धनको बैठक आज बस्दै छ। प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा ९ बजे बस्ने बैठकमा स्थानीय तह निर्वाचनमा तालमेलकाे माेडालिटी तयार गर्नेबारे छलफल हुने भएकाे छ। प्रधानमन्त्री शेरबहादुर देउवा भारतकाे दुई दिने औपचारिक भ्रमण गरेर स्वदेश फर्किएपछि गठबन्धनको बैठक बस्ने भएकाे हाे। आजकाे बैठकमा तालमेलकाे माेटालिटी टुंग्याउनेगरी छलफल हुने राष्ट्रिय जनमाेर्चाकी उपाध्यक्ष दुर्गा पाैडेलले बताइन्। १७ चैतमा बसेकाे गठबन्धनको बैठकले निर्वाचनमा तालमेल गर्ने निर्णय गरेकाे थियाे।
तीन डीआईजीको मुद्दा न्यायाधीश रेग्मीको इजलासमा काठमाडौं। प्रहरी नायव महानिरीक्षक (डीआईजी)हरू ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाश कार्कीले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा भएको बढुवा सिफारिस निर्णयविरुद्ध दायर रिटको पेसी आज पनि तोकिएको छ। आइतबार न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा तोकिएको थियो। तर, हेर्न नमिल्ने सूचीमा राखियो। आज पनि सर्वोच्चले रेग्मीकै इजलासमा रिटको पेसी तोकेको छ। तीन डीआईजी गृह सचिव टेकनारायण पाण्डे नेतृत्वको बढुवा समितिले एआईजी पदमा बढुवा गर्दा विभेद गरेको भन्दै सर्वोच्च अदालत पुगेका हुन्। रिटमा उनीहरूले कनिष्ठ डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरिँदा आफूहरूमाथि विभेद भएको भन्दै बढुवा सिफारिस गर्ने निर्णय बदरको माग गरेका छन्। सर्वोच्च जानुअघि उनीहरूले बढुवाविरुद्धको सुनुवाइ समिति पुगेर उजुरी दिएका थिए । समितिले बढुवा गर्ने निर्णयमा कैफियत नदेखिएको ठहर गरेको थियो। त्यसपछि गएको बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले बढुवा सिफारिस भएका डीआईजीहरू वसन्तकुमार पन्त, धीरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकलाई बढुवा गर्ने निर्णय गरेको थियो। डीआईजीको वरियतामा भने पन्त तेस्रो, सिंह छैटौँ र धानुक आठौँमा थिए।
भरतपुर महानगरको प्रमुख पद माओवादी केन्द्रलाई नछाड्ने चितवन कांग्रेसको निर्णय चितवन । भरतपुर महानगरपालिकाको प्रमुख पदमा कांग्रेसको उमेदवार रहनेगरी गठबन्धनका दलहरुबीच चुनावी तालमेल गरिने नेपाली कांग्रेस चितवनले निर्णय गरेको छ । पार्टी कार्यालय कमलनगरमा आज (आइतबार) बसेको जिल्ला कार्यसमितिको बैठकले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा महानगर प्रमुखमा कांग्रेसको उमेदवार रहनेगरी सात वटै पालिकामा चुनावी तालमेल गर्ने निर्णय गरेको हो । महानगरको प्रमुख पदमा कांग्रेसकै उमेदवार रहनेगरी तालमेल गर्ने निर्णय गरेको नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले बताए । ‘नेपाली कांग्रेस चितवनको आजको बैठकको निर्णयको बटम लाइन भनेको महानगर प्रमुख नेपाली कांग्रेसको उमेदवार हुने हो’, उनले भने । यसको मतलब महानगर प्रमुखको उमेदवारमा दाबी गर्दै आएको गठबन्धनको अर्को दल नेकपा (माओवादी केन्द्र) लाई कांग्रेसले नछाड्ने भएको छ । माओवादी केन्द्रले महानगरको मेयरमा पुनः रेनु दाहाललाई नै उठाउने तयारी गरिरहेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महानगरको प्रमुखमा आफ्नो पार्टीको उमेदवारलाई सहयोग गर्नेगरी केन्द्रीय स्तरबाटै चुनावी तालमेल गर्ने कोशिस गरिरहेका छन् । यद्यपी कांग्रेसको केन्द्रीय समितिले पनि स्थानीय आवश्यकता अनुसार तालमेल गर्ने निर्णय गरिसकेको छ । चितवन कांग्रेस भने यस पटक कुनै पनि हालतमा महानगरको प्रमुखमा माओवादीलाई सहयोग नगर्ने पक्षमा छ । अन्य पालिकामा माओवादीसँग तालमेल गर्ने भएपनि महानगर प्रमुखको उमेदवारमा कांग्रेसले नछाड्ने निर्णय गरिएको खनालले बताए । ‘महानगर प्रमुखमा कांग्रेसको उमेदवार रहनेगरी गठबन्धनका दलबीच सबै पालिकामा तालमेल गरी अघि बढ्ने निर्णय भएको छ’, उनले भने । अन्य पालिकाको प्रमुखमा भने स्थानीय आवश्यकताका आधारमा गठबन्धनका दलबीच तालमेल हुने उनले बताए ।
सैनिक कल्याणकारी कोषको सम्पति रु ६४ अर्ब काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले सैनिक कल्याणकारी कोषको सम्पत्ति करिब रु ६४ अर्ब पुगेको जानकारी दिएका छन् । विसं २०३२ मा रु एक करोड २४ लाख एक हजारबाट स्थापना भएको सैनिक कल्याणकारी कोषको रकम माघ मसान्तसम्म आइपुग्दा रु ६३ अर्ब ९७ करोड २६ लाख ६० हजार पुगेको बताए । राजदल गणमा आयोजित ‘भूतपूर्व सैनिक सम्मेलन’ उद्घाटन गर्दै प्रधानसेनापति शर्माले भूपूसैनिक तथा बहालवालाको जीवन स्तर उकास्न इन्भेष्टमेन्ट बैंकसँगको सहकार्यमा अघि बढाइएको सहुलियत कर्जा कार्यक्रमबाट हालसम्म ३१ हजार ५०० भन्दा बढी हिताधिकारीसमेत लाभान्वित भएको उल्लेख गरे। कल्याणकारी बोर्डको समन्वयमा हिताधिकारीका लागि बैंकले लघुवित्त कार्यक्रममा हालसम्म करिब रु छ अर्ब ७५ करोड कर्जा प्रवाह गरिसकेको छ । कल्याणकारी कोषमार्फत आफ्ना हिताधिकारीका लागि शिक्षा, स्वास्थ्य, स्वरोजगार, सीप, सहुलियतजस्ता कार्यक्रममार्फत जीवनस्तर उकास्ने कार्यक्रमलाई सेनाले जोड दिँदै आएको छ । प्रधानसेनापति शर्माले लामो सैनिक जीवनबाट सेवा निवृत्त भएका भूपूलाई समाजलाई दिएको योगदान खेर नजाने भएकाले सङ्गठनको ओज र गरिमा अभिवृद्धि गर्ने ढङ्गबाट समाज सेवामा लागेर उदाहरण प्रस्तुत गर्न सुझाव दिए । सम्मेलनमा ज्येष्ठ भूपूसैनक तथा एकल महिलालाई सम्मान, अशक्त तथा फरक क्षमता भएकालाई ह्विल चियर, लघुउद्यम व्यवसायीलाई प्रशंसापत्र र पुरस्कार वितरण तथा चारभन्दा बढी सन्तानलाई सेनामा पठाउने मातापितालाई सम्मान गरियो । कल्याणकारी कोषको दिगोपन, मितव्ययी र पारदर्शी प्रयोग गर्न सङ्गठन कटिबद्ध रहेको जनाउँदै सहभागी अन्य वक्ताले सेवासुविधालाई विस्तारित, विकेन्द्रित एवं परिणाममुखी तुल्याउने लक्ष्य बनाइएको जानकारी दिए । सम्मेलनलाई भूपूसैनिकले आफ्ना सहपाठीसँगको भेटघाट र औषधिमूलोका हिसाबले अभूतपूर्व जमघटका रूपमा लिने गरेका छन् । यसअघि दिपायल र धनगढीमा भूपूसैनिक सम्मेलन भइसकेको छ । मुलुकको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनामा जीवनको महत्वपूर्ण क्षण बिताएका भूपू र एकल महिलाको सङ्ख्या करिब ८५ हजार छ । नेपाली सेनाको कल्याणकारी बोर्डको संयोजनमा हुँदै आएको सम्मेलनका यस वर्षको नारा ‘भूतपूर्व सैनिक सम्मेलनको अभिलाषाः सेनाप्रतिको समर्पण र भरोसा’ भन्ने रहेको छ । सम्मेलनका अवसरमा हिताधिकारीलाई लक्षित गरी आयोजना गरिएको बृहद् स्वास्थ्यबाट ७०० भन्दा बढी सेवाग्राही लाभान्वित भएको जानकारी दिइयो । सैनिक कल्याणकारी बोर्डका कार्यकारी अधिकृत गौरव तण्डुलले गौरवमय इतिहास र विशिष्ट परम्परा बोकेको नेपाली सेना आफँैमा एउटा मर्यादित, अनुशासित, सशक्त र उत्कृष्ट संस्था भएको बताए । उनले भने, “कल्याणकारी कोषको अभिवृद्धि गर्ने, नयाँ चिन्तनसहित गति ल्याउने, लगानीका सम्भावित क्षेत्रको पहिचान गर्ने, कार्यक्रमलाई विकेन्द्रीकरण गरी सेवालाई घरदैलोसम्म पु¥याउन हरहमेसा प्रयत्न भइरहेको छ ।”
देश चिनाउने माध्यम खेलकुद होः मन्त्री आले बारा। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले देशलाई अन्तर्राष्ट्रिय रुपमा चिनाउने माध्यम खेलकुद भएको बताएका छन् । आज बाराको सिमरामा आयोजना गरिएको १२ औँ जीतपुर सिमरा गोल्डकप २०७८ को समापन समारोहमा मन्त्री आलेले देशको नामलाई विश्वव्यापी रुपमा चिनाउन र नागरिक निरोगी हुन खेलकुदको ठूलो महत्व रहेको बताएका हुन् । उनले विभिन्न देश खेलकुदका माध्यमबाट संसारमा चिनिएका दृष्टान्त प्रस्तुत गर्दै मुलुकमा खेलकुदको विकासका लागि उचित नीति र वातावरणको आवश्यकतामा जोड दिए । मन्त्री आलेले भारत क्रिकेट खेलकै कारण विश्वभर चिनिएकाले हाम्रो देश नेपाल पनि खेलकुदकै कारण संसारमा चिनाउन आवश्यक रहेको बताए । संसारका ठूला अनुसन्धानहरुले पनि स्वस्थ्य मानव जीवनका लागि खेलकुद नै ठूलो स्रोत भएको देखाएका उनले उल्लेख गरे । त्यस कार्यक्रममा मन्त्री आलेले सिमरा सङगसाला जाने बाटो साँघुरो भएको र यातयातका साधन आवतजावतमा पनि समस्या भएकाले नागरिक उड्डयन प्राधिकरणसँग सल्लाह गरी बाटो फराकिलो बनाउनका लागि पहल गर्ने आश्वासन समेत दिए । यसैगरी मन्त्री आलेले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति गर्न अर्थ मन्त्रालयमा बजेटको सुनिश्चितताका लागि पत्र पठाएको र बजेटको व्यवस्था भएपछि स्तरोन्नतिको काम गरिने बताए ।
राष्ट्रपति भण्डारीबाट घोडेजात्रा अवलोकन काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा यस वर्षको घोडेजात्रा समारोह सम्पन्न भएको छ । राष्ट्रपति भण्डारी नेपाली सेनाको परमाधिपति हुन् । सो अवसरमा उनले म्युजिकल राईडरमा प्रथम र द्वितीय हुने क्रमशः उपसेनानी श्रीवत्स सिलवाल र सहसेनानी प्रवीण लामिछाने तथा शो–जम्पका प्रथम लिलाराज खड्का र द्वितीय प्यूठ रोशनकुमार श्रेष्ठलाई पुरस्कार प्रदान गरिन् । उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्रीको कार्यभारसमेत सम्हालेका गृहमन्त्री बालकृष्ण खाण सैनिक मञ्च टुँडिखेल गई सेनाद्वारा प्रस्तुत अश्वकला र कुकुरका विभिन्न क्रियाकलाप र खेलको अवलोकन गरे। सो अवसरमा अश्वकलाका विविध रोचक कार्यक्रमअन्तर्गत राईडर पास, ब्यानर डिस्प्ले, टाँगन र चार्जर घोडा दौड, साइकल दौड, शो–जम्प, ड्रिल राईड, क्रस टेण्ट पेगिङ्ग, लान्स, क्रिज र सुइरो, घोडा लडाउने र कुदिरहेको घोडाबाट चढ्ने र ओर्लने, म्यूजिकल राइड, क्रसकन्ट्री जम्प, हङ्गेरियन पोष्ट र सामूहिक जम्प प्रदर्शन गरियो । कार्यक्रममा कुकुरको कौशलअन्तर्गत विविध रोमाञ्चक क्रियाकलाप र कलासमेत प्रदर्शनी गरियो । कुकुरलाई इमान्दार र आज्ञापालक जनावरका रुपमा लिइछ । घोडेजात्रा अवलोकनका लागि कायम मुकायम प्रधानन्यायाधीश, सभामुख, मन्त्रिगण, नेपाल सरकारका उच्च पदस्थ अधिकृत, संवैधानिक निकायका प्रमुख, सुरक्षा अङ्गका प्रमुख, नेपालस्थित सैनिक सहचारी तथा समाजका विभिन्न क्षेत्रका महानुभाव टुँडिखेल पुगेका थिए । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन टुँडिखेलमा घोडेजात्रा मनाइँदै आएको छ । नेपाल टेलिभिजनलगायत विद्युतीय सञ्चार माध्यमले घोडोजात्रा मूल समारोहको प्रत्यक्ष प्रसारण गरेका थिए भने जात्रा हेर्न टुँडिखेल वरपर नरनारीको घुँइचो देखिन्थ्यो । जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिणमा रहेको रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई दुःख दिने गरेको घटना र भयसँग जोडेर जात्राको प्रारम्भ गरिएको भनाइ छ । गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने सोच अनुरुप घोडोजात्रा आयोजना गरिँदै आएकोे भनिएको छ । घोडेजात्राका परम्परालाई कायम राख्न तथा संस्कृतिको संरक्षण गर्न सेनाले घोडेजात्राको दिन घोडा र कुकुरका विभिन्न कौशलपूर्ण एवम् रोमाञ्चक क्रियाकलाप प्रदर्शनीको व्यवस्थापन गर्दैआएको छ ।
मेलम्चीको पानी काठमाडौँ लैजाने प्रक्रिया अन्तिम चरणमाः मन्त्री चौधरी काठमाडौं । खानेपानीमन्त्री उमाकान्त चौधरीले सरकारको लक्ष्यअनुसार चैत मसान्तसम्ममा मेलम्चीको पानी काठमाडौँ पुग्ने बताएका छन् । आज हेलम्बु–१ मा रहेको मेलम्ची खानेपानीको बाँधस्थल पुगेका मन्त्री चौधरीले तोकिएको समयमा काम सक्न ठेकेदार कम्पनी र सम्बन्धित कर्मचारीलाई निर्देशन दिए । अहिले हेडवक्र्स र सुरूङ सफा गर्ने काम भइरहेको छ । उनले प्राविधिकरूपमा केही कठिनाइ देखा परे पनि त्यसलाई समाधान गर्दै चैत मसान्तसम्ममा जसरी पनि पानी काठमाडौँ झार्ने सरकारी लक्ष्यअनुसार काम भइरहेको बताए । मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजनल इञ्जिनीयर पदमबहादुर कुँवरले १७ नम्बरको डेढ किलोमिटर टनेल सफा गर्न, २१ नम्बर गेट खोल्न र ९ नम्बर गेट झार्न बाँकी रहेको उल्लेख गर्दै ९ नम्बर गेट भोलि झार्ने प्रयास गरिने बताए । यसपछि मुख्य काम सकिने उनको भनाइ छ । सुरुङ सफा गर्ने क्रममा सुरुङभित्र सोचेभन्दा बढी लेदो भरिएको पाइएकाले सो सफा गर्ने कार्य भइरहेको ठेकेदार कम्पनी सिनो हाइड्रोका सब कन्ट्र्याक्टर एस के कन्स्ट्रक्सनका एक सञ्चालक समीर तामाङले जानकारी दिए । उनले लेदो सफा गरेको एक हप्ताजतिमै मेलम्चीको पानी काठमाडौँ पु¥याउन सकिने उल्लेख गर्दै सोहीअनुसार काम गरिरहेको बताए । मन्त्री चौधरीले आजै हेलम्बु गाउँपालिका–१ तार्केघ्याङको डुक्पाडुङ गुम्बामा क्षमा पूजा गरेका छन्। उनले अब यस क्षेत्रमा बाढीपहिराले दुःख नदियोस् भनेर क्षमा पूजा गरेका हुन्। हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले स्थानीय सरकार पानी पठाउन सदैव तयार रहेको बताउँदै मुहान क्षेत्रको गाउँपालिकालाई सरकारले काठमाडौँमा पानी  बिक्री गर्न थालेपछि त्यसको नाफाको प्रतिशत दिन माग गरे । शेर्पाले स्थानीय बाढी प्रभावितलाई घर बनाउन रु पाँच लाखले नपुग्ने भन्दै रकम थप गर्न सरकारसँग आग्रह गरे । काठमाडौँ आइसकेको मेलम्ची खानेपानी आयोजनामा गएको बर्खाको बाढीले क्षतिग्रस्त भएकाे थियो । त्यसपछि यो आयोजना अहिलेसम्म नै ठप्प रहेको छ । अनुगमनमा मन्त्री चौधरीसँगै हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा, मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक वासुदेव पौडेललगायतको सहभागीता थियो ।
मतपत्रको परीक्षण छपाइ सुरु काठमाडौं । आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि मतपत्रको परीक्षण छपाइ सुरु भएको छ । मतपत्र छपाइ हुँदा मापदण्डअनुरुपको निर्वाचन चिह्न छपाइ भयो भएन भनी यकीन गर्न तीन दिनसम्म परीक्षण छपाइ हुने प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । यसैबीच प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहितको आयोग पदाधिकारी टोली सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेड पुगि मतपत्र मुद्रण मेसिनको क्षमता र मतपत्र छपाइ परीक्षणबारे जानकारी लिएका छन् । मतपत्र छपाइभन्दा अघि मेसिनको परीक्षण गरिएको छ । आगामी स्थानीय तह निर्वाचनका लागि करिब दुई करोडको सङ्ख्यामा मतपत्र छपाइको तयारी छ । विगतमा मतदाता सङ्ख्याको १५ प्रतिशतसम्म बढी मतपत्र छपाइ हुने गरेकामा यस पटक आयोगले १० प्रतिशतमात्र बढी मतपत्र छपाउन लागेको छ । कतिपय जिल्लामा हेलिकप्टरबाट ढुवानी गर्नुपर्ने भएकाले पहिले दुर्गम क्षेत्रका लागि मतपत्र छपाइ हुनेछ । काठमाडौँ उपत्यकाका महानगर र नगरपालिकाका लागि भने उम्मेदवारी मनोनयनपछि मात्र मतपत्र छपाइ गरिने आयोग स्रोतले जानकारी दिएको छ । नेपाली सेनाको सुरक्षा व्यवस्थापनमा मतपत्र छपाइ कार्य हुनेछ ।
गैरआवासीय नेपालीका समस्या समाधान गर्न सरकार सकारात्मक छः मन्त्री बडू काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले गैरअवासीय नेपाली सङ्घ (एनआरएनए)ले उठाउँदै आएका माग सम्बोधनका लागि सरकार सकारात्मक रहेको बताएका छन् । बुधबार काठमाडौँमा सङ्घको ध्यानाकर्षण पत्र बुझ्दै उनले संवैधानिक व्यवस्थानुसार नागरिकतासँग सम्बन्धित विषय र सङ्घले उठाउँदै आएका अरु मागहरु कानून र नियमावली निर्माणबाट सम्बोधनका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । यही चैत्र १२ र १३ गते काठमाडौँमा सम्पन्न दशौँ गैरआवासीय नेपाली सम्मेलनबाट निर्वाचित समितिलाई बधाई दिँदै मन्त्री बडूले समुन्नत नेपाल निर्माणको अभियानमा गैरआवासीय नेपालीसँग सहकार्य गर्न सरकार तयार रहेको बताए । सङ्घका अध्यक्ष कुल आचार्य नेतृत्वको टोलीले मन्त्री बडूलाई नेपालको संविधानले गैरआवासीय नेपाली नागरिकताका सम्बन्धमा गरेको व्यवस्था कार्यान्वयनका लागि आवश्यक कानून निर्माण, तीन पुस्तापछिको एनआरएनलाई पनि गैरआवासीय नेपाली नागरिकताबाट बञ्चित नगराउने गरी संविधान संशोधन गर्न राजनीतिक सहमतिलगायत विषयमा सहयोग गर्न आग्रह गरेका थिए। साथै उनले दोहोरो नागरिकता लिन नमिल्ने देशमा रहेका गैरआवासीय नेपालीका लागि परिचयपत्रको माध्यमबाट सम्पत्तिलगायत अधिकार प्रयोग गर्न सकिने गरी गैरआवासीय नेपाली ऐन, २०६६ लाई संशोधन गर्न पहल र सहयोगका लागि समेत आग्रह गरे ।
निर्वाचन आयोगबाट राजनीतिक दलहरुलाई १७ बुँदे निर्देशन काठमाडौं । निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनमा भाग लिने राजनीतिक दलहरुलाई निर्देशन दिएको छ । आयोगले १७ बुँदै निर्देशन दिएको हो । आयोगले भनेको छ, ‘नेपालको संविधान, राजनीतिक दलसम्बन्धी ऐन, २०७३, स्थानीय तह निर्वाचन ऐन, २०७३, निर्वाचन आयोगको तेश्रो पञ्चवर्षीय रणनीतिक योजना ९२०७६र७७-२०८०र८१० र निर्वाचन व्यवस्थापनमा लैङ्गिक तथा समावेशी नीति, २०७७ मा भएका व्यवस्था बमोजिम स्थानीय तह निर्वाचन, २०७९ को व्यवस्थापन र सञ्चालनलाई लैंगिक तथा समावेशी बनाई महिला तथा समावेशी समूहका व्यक्तिहरुलाई निर्वाचन प्रक्रियामा बढीभन्दा बढी सहभागिता र प्रतिनिधित्व गराउने सम्बन्धमा आ-आफ्नो तर्फबाट तपशिल बमोजिम गर्न गराउन राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम स्थानीय तह निर्वाचन, २०७९ मा भाग लिन दर्ता भएका राजनीतिक दलहरुलाई निर्देशन दिइएको छ ।’ यस्ता छन् निर्देशन १ .नेपालको संविधानको धारा ३८ को उपधारा (४) तथा धारा ४२ को उपधारा (१) मा भएको व्यवस्था र नेपालको संविधानको धारा ४७ को मौलिक हकको कार्यान्वयन सम्बन्धी व्यवस्था समेतलाई स्मरण गरी स्थानीय तहमा लैङ्गिक तथा समावेशी प्रतिनिधित्व सुनिश्चित हुने गरी उम्मेदवार मनोनयनको व्यवस्था गर्ने, २. राजनीतिक दलले निर्वाचनसँग सम्बन्धित कृयाकलापहरु सञ्चालन गर्दा नेपालको संविधानप्रति निष्ठावान रही विभिन्न जातजाति, सम्प्रदाय, लिङ्ग, धर्म, भाषा, क्षेत्र र संस्कृतिको सम्मान गर्दै आपसी सुसम्बन्धमा खलल पार्ने कुनै गतिविधि हुन नदिने, ३ . दलमा तोकिनु भएका लैङ्गिक सम्पर्क व्यक्तिहरुलाई परिचालन गरी निर्वाचन व्यवस्थापनमा लैङ्गिक तथा समावेशी नीति, २०७७ को कार्यान्वयनमा सहयोग गर्ने, ४. निर्वाचनमा प्रयोग हुने मतदानस्थल, मतदान केन्द्र, मतगणनास्थललाई लैङ्गिक तथा अपाङ्गमैत्री बनाउन आवश्यक सहयोग गर्ने, ५.राजनीतिक दललको घोषणा(पत्र लगायतका दस्तावेजहरुमा लैङ्गिक तथा समावेशी सम्बन्धी व्यवस्थालाई उचित सम्बोधन गर्ने । ६. स्थानीय तहको प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्षको पदमध्ये कुनै एक पदमा मात्र उम्मेदवारी दिने राजनीतिक दलले महिलाको मनोनयनको व्यवस्था गर्ने, ७. वि.सं. २०७४ मा १७५ दलित महिला वडा सदस्य पदमा उम्मेदवारी नै नपरेको कारणबाट उक्त पद रिक्त भएको विषयलाई गम्भीरतापूर्वक लिई प्रचलित कानून बमोजिम सम्पूर्ण वडामा दलित महिलाको उम्मेदवारी हुने व्यवस्थाका लागि आवश्यक पहल गर्ने, ८. महिला, दलित वा अल्पसंख्यक समुदायको लागि आरक्षण गरिएका पदहरु बाहेकका पदमा उम्मेदवार मनोनयन गर्दा कम्तिमा एक तिहाई महिला र नेपालको सामाजिक विविधता प्रतिविम्वित हुने गरी समानुपातिक समावेशी सिद्धान्तका आधारमा उम्मेदवार मनोनयन गर्ने, ९. राजनीतिक दलले आफ्ना सदस्यहरुलाई लैंगिक तथा समावेशीताका सवालहरुमा संवेदनशील बनाउन आवश्यक सहजीकरण तथा प्रशिक्षणको व्यवस्था गर्ने, १०. राजनीतिक दलबाट सञ्चालन गरिने प्रशिक्षण, गोष्ठी, तालिम, सेमिनार, छलफल तथा अन्तरक्रिया आदि कार्यक्रममा महिला, समावेशी समूह तथा लक्षित वर्गको सहभागितालाई सुनिश्‍चित गर्ने, ११. राजनीतिक दलबाट तयार गरिने तालिम तथा प्रशिक्षणका पाठ्यक्रम, पाठ्य सामग्री, निर्वाचन सम्बन्धी स्रोत सामग्रीहरु तयार गर्दा तथा कार्यक्रमस्थल छनौट गर्दा लैंगिक तथा अपाङ्गमैत्री र समावेशी बनाउने, १२. राजनीतिक दलहरुबाट सञ्चालन गरिने कुनै प्रकारको कार्यक्रममा महिला, समावेशी समूह तथा लक्षित वर्ग, क्षेत्र र समुदायको सहभागिता र प्रतिनिधित्वका लागि लक्षित कार्यक्रम सञ्चालन गर्ने, १३. गम्भीर प्रकृतिका अशक्त, दीर्घ रोगी, अपाङ्गता भएका व्यक्ति, गर्भवती तथा सुत्केरी महिला तथा ज्येष्ठ नागरिक मतदाताहरुलाई मतदानको दिन मतदान केन्द्रसम्मको पहुँच र मतदान गर्ने कार्यलाई सहज तुल्याउन मतदान अधिकृतको स्वीकृति लिई आवश्यक सहजीकरण र सहयोग गर्ने, १४. निर्वाचन प्रचार प्रसार गर्दा महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति एवम् समावेशी समूहका उम्मेदवारलाई प्रत्यक्ष वा अप्रत्यक्ष धम्की दिने, व्यक्तिगत लाञ्छना लगाउने, गालीगलौज गर्ने, हतोत्साहित गर्ने, चरित्र हत्याका प्रयास गर्ने एवम् कमजोरी देखाउने जस्ता विभेदजन्य कार्य हुन नदिन सम्पूर्ण सतर्कता अपनाउने, १५. ज्येष्ठ नागरिक, महिला, यौनिक तथा लैंगिक अल्पसंख्यक तथा अपाङ्गता भएका व्यक्तिहरुको भावना, इज्जत, चरित्र तथा प्रतिष्ठामा आँच आउन सक्ने तथा आत्मसम्मानमा चोट पुग्ने प्रकारले कुनै किसिमको प्रचारप्रसार नहुने कुराको सुनिश्चितता प्रदान गर्ने, १६. राजनीतिक दलले प्रयोग गर्ने सामाजिक सञ्जालमा प्रयोग हुने भाषा महिला तथा समावेशी समूहका व्यक्तिको भावनामा नकारात्मक असर पर्ने गरी गलत, भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह नहुने कुराको सुनिश्चितता गर्ने, १७. राजनीतिक दलहरुबाट निर्वाचनको प्रचारप्रसार गर्दा निर्वाचनमा लैङ्गिक तथा समावेशीता, निर्वाचनको महत्व र मतदान गर्ने तरीका लगायतका विषयमा मतदाताहरुलाई सुसूचित गर्ने गरी आवश्यक व्यवस्था मिलाउने । उपरोक्त बमोजिमका कार्यहरुबाट स्थानीय तह निर्वाचन, २०७९ को संचालन तथा व्यवस्थापनमा लैङ्गिक तथा समावेशीताको प्रवर्धनमा योगदान पुग्ने आयोगले अपेक्षा गरेको छ ।
नेपाल प्रहरी र सशस्त्रमा पेन्सन १६ वर्षमा झार्न प्रस्ताव काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा जवान र हवल्दारको १६ वर्षमै पेन्सन बनाउने प्रस्ताव गृह मन्त्रालयबाट स्वीकृत भएको छ । प्रहरी प्रधान कार्यालयले १६ वर्षेमै पेन्सन पाउने व्यवस्थाका लागि अगाडि बढाएको प्रस्तावमा गृहमन्त्री वालकृष्ण खाणले सहमति जनाएका छन् । मन्त्री खाणको सहमतिसँगै उक्त प्रस्ताव सैद्धान्तिक सहमतिका लागि अर्थ मन्त्रालय पठाउने तयारी गरिएको स्रोतको भनाइ छ । यो प्रस्ताव स्वीकृत भए दुवै प्रहरी संगठनमा तल्लो दर्जाका प्रहरीले पेन्सन अगावै पाउन थाल्ने छन् । प्रहरी प्रधान कार्यालयले प्रहरी कार्यालय सहयोगी, प्रहरी जवानदेखि प्रहरी वरिष्ठ हवल्दारसम्मको १६ वर्षमा पेन्सन हुने व्यवस्था गर्न प्रस्ताव गरेको छ । प्रहरी सहायक निरीक्षकदेखि प्रहरी वरिष्ठ नायब निरीक्षकसम्मको १८ वर्षमा पेन्सन हुने व्यवस्था गर्न प्रस्ताव गरिएको छ । सशस्त्र प्रहरीमा २०६० चैत २६ गतेभन्दा पछि भर्ना भएकाहरुको पेन्सन अवघि २० वर्ष बनाइएको थियो। अब भने दर्जाअनुसार १६ देखि २० वर्षे पेन्सन अवधि बनाउने प्रक्रिया सुरु गरिएको छ । परिचरदेखि वरिष्ठ हवल्दारसम्मको पेन्सन १६ वर्षमै हुने व्यवस्था गर्न प्रस्ताव गरिएको भने सहायक निरीक्षकदेखि वरिष्ठ नायब निरीक्षकसम्मको १८ वर्षमा र सशस्त्र प्रहरी निरीक्षकदेखि महानिरीक्षकसम्मको पेन्सन भने २० वर्षमै हुने व्यवस्था गर्न माग गरिएको छ ।
ठेकेदारले स्थानीय तह निर्वाचनमा लड्न नपाउने काठमाडौं । निर्वाचन आयोगले आगामी बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा कुनै स्थानीय तहको ठेक्कापट्टा वा चल अचल सम्पत्ति सम्बन्धी व्यवहारमा संलग्न नरहेको व्यक्तिलाई उम्मेदवार हुन नपाउने निर्णय गरेको छ । बैठकपछि आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवारको मनोनयनपत्र साथ पेस गर्नुपर्ने स्वघोषणाका बुँदाहरुसमेत सार्वजनिक गरेको छ । जसमा नेपालको संविधानप्रति पूर्ण निष्ठावान रहेको, २१ वर्ष पूरा भएको नेपाली नागरिक भएको, सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको, सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने गरी कुनै लाभको पद धारण नगरेको लगायत छन् । आयोगले जारी गरेको १९ बुँदे स्वघोषणा अन्तर्गत नेपालको संविधानप्रति पूर्ण निष्ठावान रहेको, २१ वर्ष उमेर पुरा भएको नेपाली नागरिक भएको, गाउँपालिका वा नगरपालिकाको सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको, नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तह तथा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक वा सुविधा पाउने गरी वहाल नरहेको, स्थानीय तहलाई कुनै जिन्सी वा नगदी बुझाउन बाँकी नरहेको, सरकारी पेश्की, बेरुजु तिर्न बुझाउन बाँकी नरहेको लगायतका बुँदाहरु स्वघोषणामा उल्लेख गर्नुपर्ने भएको छ।
स्थानीय निर्वाचनः उम्मेदवारले मनोनयन पत्रसहित १८ बुँदे मापदण्ड पालना गर्दैै स्वघोषणापत्र बुझाउनु पर्ने काठमाडौं । निर्वाचन आयोगले आउँदो ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका उम्मेदवारले मनोनयनपत्रसहित स्वघोषणापत्र पनि बुझाउनुपर्ने जनाएको छ । आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले बुधबार विज्ञप्ति जारी गर्दै विभिन्न १८ बुँदे मापदण्ड पालना गर्दै स्वघोषणापत्र बुझाउनुपर्ने उल्लेख गरेका हुन् । आयोगको बुधबार बसेको बैठकले स्थानीय तहसँग सम्बन्धित कानुनी तथा कार्यविधिगत व्यवस्थालाई व्यवस्थित गर्न स्थानीय तह निर्वाचन निर्देशिका, २०७९ जारी गरेको उनले जानकारी दिए । पौडेलका अनुसार २१ वर्ष उमेर पूरा भएको, सम्ब न्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको, सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने गरी कुनै लाभको पद धारण नगरेको, ठेक्कापट्टा वा चल अचल सम्पत्ति सम्बन्धी व्यवहारमा संलग्न नरहेको जस्ता १८ वटा मापदण्डभित्र पर्ने व्यक्तिले उम्मेदवारी दिन सकिने व्यवस्था गरिएको छ ।
गठबन्धनका दलहरूसँंग चुनाव लड्न हामीलाई मज्जा आउँंदैन: ओली भक्तपुर । एमालेका अध्यक्ष केपी ओलीले सरकारमा रहेका राजनीतिक दलहरूले अबको चुनावमा गठनबन्ध गरेर गए मात्रै एमालेसम्म भिडन् सक्ने भन्ने सही कुरा बुझेको, तर उनीहरूले गठबन्धन गर्दा पनि एमालेलाई हराउन नसक्ने रहेछ भन्ने कुरा बुझन बाँंकी भएको बताएका छन् । गठनबन्धन गरे पनि एमालेलाई नभ्याउने कुरा ३० वैशाखमा हुने निर्वाचनको परिणामपछि मात्रै गठनबन्धनका दलहरूले थाहा पाउने उनको भनाइ छ । भक्तपुरको आदर्शस्थित सूर्यविनायक तरकारी बजारको बुधबार उदघाटन गर्दै उनले गठनबन्धन दलहरूलाई नटुट्न आग्रह गरे । गठबन्धन दल टुटेफुटेमा एमालेसँंग चुनाव लडने हिम्मतै गर्न नसक्ने भन्दै त्यसो भयो भने एमालेलाई पनि चुनाव लड्दा मज्जा नआउने बताए । ‘स-साना बच्चाहरूसँंग जसरी ठूलो मान्छेलाई लड्न मज्जा आउँंदैन, त्यसरी नै यी गठबन्धनका दलहरूसँंग चुनाव लड्न हामीलाई मज्जा आउँंदैन,’ सता गठबन्धनमा रहेका दलहरूलाई बच्चाको संज्ञा दिंदै उनले भने, ‘तिनीहरू सबै एक भए पो बलवान हुन्छ र बराबरी ताकत भएकासँंग भिड्न एमालेलाई मज्जा आउँंछ ।’ तरकारी बजारका अध्यक्ष एवं चर्चित मेडिकल व्यवसायी दुर्गा प्रसाईले विदेशमा होइन, स्वदेशमै केही गर्नुपर्छ भन्ने भावनाले बजार सञ्चालनमा ल्याएको बताए । उनले विचौलिया अन्त्यका लागि तरकारी बजार सञ्चालनमा ल्याएको दाबी पनि गरे । प्रसाईले किसानले मूल्य नपाउने तर विचौलियाले खाने गरेका कारण त्यसको अन्त्यका लागि आफूले तरकारी बजार सञ्चालनमा ल्याएको बताए । ‘किसानले अब यहाँं सिधै बेच्न सक्छन्,’ उनले भने, ‘हामी उनीहरूलाई उचित मूल्य दिन्छौं ।’ प्रसाईले नेपालको नाम मात्रै कृषि प्रधान भएको, तर त्यसअनुसार केही पनि काम नभएको बताए । उनले कृषिमा क्रान्ति आवश्यक भएको पनि बताए । तरकारी बजार दुई अर्ब लगानीमा सञ्चालनमा ल्याएको र चार हजार चार सयले रोजगारी पाउने व्यवस्थापन पक्षको भनाइ छ ।
२४औँ वार्षिकोत्सवको अवसरमा रिपोर्टर्स क्लबद्वारा विभिन्न विधाका पुरस्कार घोषणा काठमाडौं । रिपोर्टर्स क्लब नेपालले आफ्नो २४औँ वार्षिकोत्सवको अवसरमा वितरण गर्ने विभिन्न विधाका पुरस्कार घोषणा गरेको छ । क्लबले यही चैत १७ गते काठमाडौँमा आयोजना गर्ने विशेष समारोहका बीच ती पुरस्कार वितरण गर्ने जनाएको छ । यस वर्षको कृष्णप्रसाद भट्टराई स्मृति पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार किशोर नेपाललाई प्रदान गर्ने निर्णय गरेको छ । त्यस्तै तेजेन्द्र–सुन्तली खड्का स्मृति आर्थिक पत्रकारिता पुरस्कार कारोबार दैनिकका सम्पादक कुवेर चालिसेलाई प्रदान गर्ने निर्णय गरेको छ । यी दुवै पुरस्कार क्लबले पहिलोपटक दिन लागेको हो । दुवै पुरस्कारको राशि रु एक लाख रहेको छ । यस्तै, क्लबले हरेक वर्ष प्रदान गर्दै आएको रु ५० हजार राशिको तारिणीप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार कान्तिपुर दैनिकका पत्रकार कुलचन्द्र न्यौपानेलाई दिने निर्णय गरेको छ । यसैगरी क्लबका संस्थापक सभापति ऋषि धमलाको मातापिताको स्मृतिमा स्थापित रु ४० हजार राशिको कुलप्रसाद–चेतकुमारी धमला स्मृति पत्रकारिता पुरस्कार अनलाइनखबर न्यूजपोर्टलका पत्रकार विनोद घिमिरेलाई प्रदान गरिने निर्णय भएको क्लबले जनाएको छ । त्यस्तै, जनही रु २५ हजार राशिको वीरेन्द्र साह स्मृति पत्रकारिता पुरस्कार गोरखापत्र दैनिकका पत्रकार सुरेश यादव, सहिद जगत प्रकाशजङ्ग शाह स्मृति पत्रकारिता पुरस्कार राससका पत्रकार कृष्णराज गौतम, कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार विमा पोष्ट अनलाइन पोर्टलका सम्पादक नवराज न्यौपाने, उमा सिंह स्मृति पत्रकारिता पुरस्कार ग्यालेक्सी फोरकेकी पत्रकार सिर्जना घिमिरे र बाबुछिरी स्मृतिफोटो पत्रकारिता पुरस्कार राससका रोशन सापकोटालाई प्रदान गरिने निर्णय गरिएको छ । त्यस्तै, प्राइम टाइम्स टिभीका पत्रकारद्वय बालकृष्ण गौतम र डेबिड पाण्डेलाई क्रियाशील युवा पत्रकारिता पुरस्कार–२०७८ बाट पुरस्कृत गरिने निर्णय गरेको क्लबको पुरस्कार छनोट समितिका सदस्य ईश्वर कार्कीले जानकारी दिए ।
प्रचण्डलाई भेट्न एनआरएनए नवनिर्वाचित पदाधिकारी खुमलटारमा काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित पदाधिकारीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । भेटका क्रममा अध्यक्ष प्रचण्डले गैरआवासीय नेपाली संघका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा कार्यकालको शुभकामना दिएका थिए । भेटका अवसरमा चैतको १२ र १३ गते सम्पन्न विश्व सम्मेलनले लिएका प्रतिवद्धताबारे छलफल भएको थियो । अध्यक्ष प्रचण्डले नेपालको विकासमा विश्वका विभिन्न देशमा छरिएर रहेका नेपालीको भूमिका महत्त्वपूर्ण रहँदै आएको बताएका थिए । उनले गैरआवासीय नेपाली संघ एकजुट भएकोमा आफू एकदम खुसी भएको बताए । अध्यक्षले भने, ‘यो एनआएनएको होइन, यो नेपाली जनताको एकतालाई तपाईंहरूले दिएको सन्देश हो । अप्ठ्यारोको बीचबाट पनि नेपालीले बाटो पहिल्याउन सक्छन् भन्ने एकता र क्षमताको सन्देश छ यसमा । नेपालीहरूले अप्ठ्यारोको बीचमा पनि नेतृत्व क्षमता राख्छन् भन्ने सन्देश यसमा छ ।’
देशको अर्थतन्त्र संकटतर्फः केपी ओली बुटवल । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको अर्थतन्त्र संकटमा परेको बताएका छन् । बढ्दो महंगी र व्यापार घाटा बढ्दै गएको र यसले अर्थतन्त्रलाई गम्भीर संकटतर्फ धकेलेको उनको भनाइ छ । एमालेले लुम्बिनीमा गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आठ महिनाअघि परमादेशका भरमा गठबन्धन सरकार बनेपछि विकास निर्माण ठप्प भएको बताए । आफ्नो नेतृत्वमा सरकार बनेको साढे तीन वर्षको अवधिमा भूकम्प प्रभावितलाई घरबास उपलब्ध गराउनेदेखि लिएर तराईमा बाढीबाट विस्थापित आठ सय परिवारलाई घर निर्माण गरिदिएको उनले बताए । भैरहवाको गौतमबुद्ध विमानस्थल, लुम्बिनीको पाँच हजार मानिस अट्ने सभाहल, जनकपुर–जयनगर रेलसेवा आफू सरकारमा भएका बेला मात्र अगाडि बढेको र मूर्तरुप लिएको ओलीको भनाइ छ ।
श्रीलङ्कामा परराष्ट्रमन्त्री खड्का र भारतका विदेशमन्त्रीबीच भेटवार्ता काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक)को १८औँ मन्त्रिस्तरीय बैठकमा भागलिने सिलसिलमा श्रीलङ्काको कोलम्बोमा रहेका परराष्ट्रमन्त्री डा नारायण खड्काले आफ्ना भारतीय समकक्षी सुव्रमन्यम् जयशङ्करसँग भेटवार्ता गरेका छन् । त्यस अवसरमा उनीहरूबीच नेपाल–भारत सम्बन्धका साथै पारस्परिक हित र साझा चासोका विविध विषयमा विचारविमर्श भएको थियो । आगामी शुक्रबारदेखि प्रधानमन्त्री शेरबहादुर देउवाले गर्न लागेको भारतको औपचारिक भ्रमणको जारी तयारीका बारेमा पनि दुवै देशका विदशेमन्त्रीबीच छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसैबीच, भारतका बाह्यमामिलामन्त्रीले परराष्ट्रमन्त्री खड्कासँगको भेटमा भारत–नेपाल सम्पर्क सञ्जाल विस्तार, विद्युत् व्यापार, मलखाद आपूर्ति, ऊर्जा र स्वास्थ्यका क्षेत्रमा सहकार्य गर्नेबारेमा छलफल भएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । उनले रामायण परिपथलाई अघि बढाउन आफूहरूबीच सहमति भएको पनि उल्लेख गरेका छन् ।
सबै दल मिलेर आए पनि एमालेलाई जित्न सक्दैनन्ः अध्यक्ष ओली चन्द्रौटा । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका सबै दल मिलेर आए पनि एमालेलाई जित्न नसक्ने बताएका छन्। कपिलवस्तुको तौलिहवामा आज आयोजित कार्यक्रममा अध्यक्ष ओलीले मुलुकको विकास गर्नका लागि एमालेले जित्नुपर्ने उल्लेख गरे । नेपाली कांग्रेस र अन्य दलबीच सरकार टिकाउन मात्र गठबन्धन गरिएको उनले आरोप लगाए । शिक्षा, स्वास्थ्य, कृषि, विमानस्थल निर्माणलगायत काम आफ्नो पालामा भएको अध्यक्ष ओलीले दाबी गरे । एमाले उपाध्यक्ष विष्णु पौडेलले आगामी स्थानीय तहको निर्वाचनमा एमालेको जितलाई कसैले रोक्न नसक्ने बताए । आजै एमालेमा प्रवेश गरेका सांसद वृजेशकुमार गुप्ताले मधेसको विकास र मधेसीको हितमा काम गर्ने दल एमाले मात्र भएको उल्लेख गरे । सो अवसरमा लुम्बिनी प्रदेशसभा सदस्य धर्मबहादुर लाल श्रीवात्सव, कपिलवस्तु नगरपालिकाका पूर्वनगर प्रमुख रामदास गुप्ता, पूर्वउपप्रमुख वासुदेव कशौधन, कपिलवस्तु नगरपालिका–१ का वडाध्यक्ष सुदीप पौडेल, वडा नं ४ वडाध्यक्ष रवीन्द्र त्रिपाठी, वडा नं १२ का वडाध्यक्ष ओमप्रकाश पाण्डे, बुद्धभूमि नगरपालिका–६ वडाध्यक्ष नन्दलाल यादव, यशोधरा गाउँपालिका–८ अध्यक्ष साहबुद्दिन मुसलमानलगायत एमालेमा प्रवेश गरेका थिए ।
‘स्थानीय तह संविधानका अधिकारलाई जनताको घरदैलोमा पुर्‍याउँदै छन्’ ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले संविधानमा उल्लेख भएका अधिकारलाई स्थानीय तहले जनताको घरदैलोमा पुर्‍याएर सेवा गर्दै आएको बताएका छन् । ललितपुर महानगरपालिका–२८ को वडा कार्यालय भवनको आज उद्घाटन गर्दै उनले पहिलो पटक अधिकार सम्पन्न भएको जनताको नजिकको वडाले नयाँ अनुभव हासिल गर्दै जनसेवा गरेको आफूले अनुभूत गरेको बताए । वडा अध्यक्षले अहोरात्र खटेर वडामा बाटो विस्तार गर्नुका साथै अन्य भौतिक पूर्वाधारको विकास गरेको उल्लेख गर्दै मन्त्री भुसालले अन्य सहरीकरणका काममा पनि वडाले विशेष ध्यान दिएर सम्पन्न गरेको बताए । उनले भने, “कुनै पनि मतभेद नभइकन एकै मनोविज्ञानले वडामा विकासका काम भएका छन्, महिलाका निम्ति सीप, ज्येष्ठ नागरिकका लागि राहत वडाले उपलब्ध गराएको छ ।” कोभिडको महासङ्कटमा आफ्नो ठाउँमा आइसोलेशन सेन्टर स्थापना गरेर जनतालाई सङ्क्रमणबाट जोगाउन वडा सफल भएको जनाउँदै उनले युवाका लागि खेलकूद तथा किसानका लागि राहत र रोजगारी सिर्जना गरेको स्मरण गरे । हरिसिद्धिको कनिखेलस्थित वडा भवन नै यहाँका वडावासीका लागि सिंहदरबार भएको उल्लेख गर्दै मन्त्री भुसालले संविधानमा उल्लेख भएका अधिकार कार्यान्वयन गर्न वडा सक्रिय भएर लाग्ने विश्वास व्यक्त गरे । आगामी दिनमा वडाको आर्थिक तथा सामाजिक विकास गर्नु नै वडाको महत्वपूर्ण काम हुने उनको भनाइ थियो । कार्यक्रममा प्रदेशसभा सदस्य राजकाजी महर्जन र वडाध्यक्ष राजेश महर्जनले आगामी दिनमा जनताको निरन्तर सेवामा लाग्ने वाचा गर्दै आफूहरूले वडाको विकासका लागि निर्वाह गरेको भूमिकाबारे स्पष्ट पारे । त्यस अवसरमा वडा भवन निर्माणमा महत्वपूर्ण योगदान गर्ने वडावासीलाई सम्मान गरिएको थियो ।
भारतले महाकाली नदीमा एकतर्फी तटबन्ध बनाएकोप्रति एमालेको ध्यानाकर्षण काठमाडौं । एमालेले भारतले दार्चुलाको महाकाली नदीमा एकतर्फी रूपमा निर्माण गरिरहेको तटबन्धको विषयमा सरकारको ध्यानाकषर्ण गराएको छ । एमाले स्थायी कमिटी बैठकले दार्चुला सदरमुकाम खलंगा नजिकै महाकाली नदी किनारमा भारतले निर्माण गरिरहेको स्थायी तटबन्धको विरोध जनाउँदै सरकारलाई खबरदारी गर्ने निर्णय गरेको हो । महाकाली नदीको धार नै परिवर्तन गर्नेगरी धारचुलामा भारतीय पक्षबाट एकतर्फी ढंगले गरिरहेको संरचना निर्माणप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको एमाले प्रचारप्रसार विभाग प्रमुख पृथ्वीसुब्बा गुरूङले बताए । आइतबार बसेको पहिलो स्थायी कमिटी बैठकले उक्त विषयमा सरकारको ध्यानाकर्षण गराएको हो । नेपालको राष्ट्रिय हित र भूमिको रक्षासँग जोडिएको यति संवेदशनशील विषयमा सरकारको मौनता खेदजनक रहेको उनले बताए । ‘हामी हाम्रो पार्टी यस विषयमा तत्काल भारतसँग वार्ता गर्न, एकतर्फी संरचना निर्माण गर्न रोक्न र सीमाको रक्षामा गम्भीर बन्न सरकारलाई गम्भीर ध्यानाकर्षण गराउँदछौं,’ स्थायी कमिटी बैठकले गरेको निर्णय सुनाउँदै उनले भने ।
विआरआईअन्तर्गतका परियोजना अगाडि बढाउन चिनियाँ विदेशमन्त्रीलाई एमालेको आग्रह काठमाडौं। नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन् ।तीन दिने नेपाल भ्रमण सम्पन्न गरी स्वदेश फर्कनुअघि उनले नक्सालस्थित होटल मेरियटमा ओलीसँग भेटवार्ता गरेका हुन् । ‘अध्यक्षज्यूले भेटमा पछिल्लो समयमा खासगरी विआरआई (बेल्ट एण्ड रोड इनिसिएटिभ्स) सँग जोडिएर जुन आयोजनाहरु हामीले अघि बढाउन सहमति गरेका छौं, तिनीहरुलाई निरन्तरता दिनुपर्छ । तिनीहरुलाई छिटोभन्दा छिटो सम्पन्न गनुपर्छ भन्ने धारणा राख्नुभयो,’ भेटवार्तामा सहभागी एमाले स्थायी कमिटि सदस्य राजन भट्टराई भने । भेटमा द्विपक्षीय विषयका धेरै मुद्दामा छलफल भएको उनले जनाए ।नेपालले फाइदा लिनसक्ने सडक, रेल, सिँचाई, जलविद्युत उत्पादन, नाकाहरु निर्माण, स्वास्थ्य तथा शिक्षाका आयोजनाहरु छिटो अघि बढाउनु पर्ने धारणा अध्यक्ष ओलीले राखेका थिए । ‘कोरोना महामारीपछि नेपालमा केही समस्या उत्पन्न भएका छन् । नाकाहरु बन्द भएका छन् । नाकाहरु खुल्नु पर्यो । नेपाली विद्यार्थी जो चीनमा अध्ययनरत थिए, कोरोनाका कारण उनीहरु फर्केर आएका थिए । छिटो उनीहरुलाई फर्काएर पढाई सुुचारु गर्नुपर्यो,’ अध्यक्ष ओलीको भनाई उद्वृत गर्दै भट्टराईले भने । हुम्लाभन्दा पारी चीनमा करिव पाँच सय जना नेपालीहरु अड्कीएको बारेमा पनि ओलीले चिनियाँ विदेशमन्त्री समक्ष कुरा राखेका थिए । यसबारे सत्यतथ्य पत्ता लगाएर चीनमा नेपाली अड्कीएर बसेको अवस्था हो भने छिटो फर्काउने व्यवस्था मिलाउन उनले अनुरोध गरेका थिए । जवाफमा चिनियाँ विदेशमन्त्री वाङले सहमति छिटो कार्यान्वयन तर्फ लैजाने प्रतिवद्धता दोहो¥याएका थिए । उनले ठूलो र सानो राष्ट्रको सम्बन्ध कस्तो हुनुपर्छ भन्ने चीन र नेपालले देखाएको समेत बताए ।
‘केपी बा आइ लभ यु’ भनेर कम्युनिष्ट पार्टी चन्दैनः अध्यक्ष नेपाल गुल्मी । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले केपी ओलीले पार्टीलाई प्रालि जस्तो बनाएर कार्यकर्तालाई सिद्धान्तभन्दा केपी बा आइ लभ यु भन्न सिकाएकाले अहिलेको अवस्था सृजना भएको आरोप लगाएका छन् । केपीले पार्टी निर्माणमा योगदानभन्दा गुट र गुण्डा उत्पादन गरेर अराजकता सृजना गरेकाले पार्टीमा विद्रोह भएको नेपालले बताए । ‘कम्युनिष्ट पार्टीमा केपी बा आइ लभ यु चल्दैन । कामरेडहरूलाई लाल सलाम र पार्टीका सिद्धान्त सिकाउनुपर्छ,’ उनले भने, ‘पार्टी बनाउने म कब्जा गर्ने केपी ।’ नेकपा एकिकृत समाजवादी गुल्मीको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले अब एमाले पार्टी नभएकाले केपी पार्टीलाई आगामी तीन वटै निर्वाचनमा धुँलोमा पार्ने बताए । केपीका कारण ग्रहण लागेको सूर्य कालीगण्डकीमा बगाएर कलम चिन्हमार्फत देशको समृद्धि खोज्न कार्यकर्तालाई आग्रह गरे ।
एकीकृत समाजवादीको केन्द्रीय विभाग र प्रदेश कमिटीले पायो पूर्णता काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीले पार्टीका केन्द्रीय विभाग र प्रदेश कमिटीलाई पूर्णता दिएको छ । नेकपा एसले पार्टीका ३१ वटा केन्द्रीय विभाग र ७ वटा प्रदेश कमिटीलाई पूर्णता दिएको हो । केन्द्रीय विभागमध्ये सम्मानित नेता झलनाथ खनालले विदेश विभागको जिम्मेवारी पाउँदा महासचिव वेदुराम भुसालले संगठन विभाग प्रमुखको जिम्मेवारी पाएको नेकपा एसले जनाएको छ । त्यस्तै उपमहासचिव विजय पौडेलले अर्थ तथा योजना विभागको जिम्मेवारी पाएका छन् । रामचन्द्र झाले कानुन विभाग प्रमुखको जिम्मेवारी पाएका छन् । अर्थ विभागको प्रमुख सोमप्रसाद पाण्डे चयन भएका छन् भने स्कुल विभागको प्रमुख प्रमेश हमाल भएका छन् । संसदीय विभाग प्रमुख जीवनराम श्रेष्ठले पाएका छन् । त्यस्तै प्रदेश कमिटीले पनि पूर्णता पाएको नेकपा एसले जनाएको छ ।
शेरबहादुरजी धोका दिने मान्छे होइन, गठबन्धन हुन्छः माधवकुमार नेपाल काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनावी गठबन्धनको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाप्रति अत्याधिक विश्वास रहेको जनाएका छन् । एमाले अध्यक्ष केपी ओलीले अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का बारेमा राखेको सर्त नमानेको उदाहरण दिँदै अध्यक्ष नेपालले चुनावी गठबन्धन हुने र कांग्रेसको निर्णयको प्रतिक्षा गरिरहेको जनाएका हुन । ‘केपी ओलीले एमसीसी पारित गराउन प्रचण्डजी र मलाई गठबन्धनबाट हटाउने सर्त राख्दा शेरबहादुरजीले मान्नु भएन, भन्नुभएछ– म धोका दिने मान्छे होइन,’ नेपालले भने, ‘अहिले पनि कांग्रेसका कतिपयले भनेका छन्, गठबन्धन हुँदैन तर शेरबहादुरजीले निर्वाचनसम्म सँगसँगै जानेछौं भनिरहनु भएको छ, अब उहाँको पार्टीले के निर्णय गर्छ, पर्खेर बसेका छौं ।’ शुक्रबार अखिल नेपाल महिला संघ (समाजवादी)को काठमाडौं भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री पत्नि आरजु राणाको पनि प्रशंसा गरेका छन् । ‘आरजु देउवाले कैलालीमा पुगेर भन्नुभएछ– ‘म अब कैलालीबाट नै उठछु, चुनावमा गठबन्धन चाहिन्छ, गठबन्धनको महत्व बुझिदिनु भएकोमा आरजुजीलाई पनि धन्यवाद ।’ देउवाप्रति पुरै विश्वस्त देखिएका अध्यक्ष नेपालले एमसीसी अनुमोदन निःसर्त गराउन खोजेको तर त्यसका लागि चारवटा सर्त राखेको पनि खुलाएका छन् । ‘एमसीसी पारित गराउनका लागि शेरवहादुरजीलाई चारवटा सर्त राखियो, यो सर्त पूरा गर्ने हो भने विनासर्त एमसीसी पास गर्छु केपी ओलीले भनेका रहेका छन,’ नेपालले भने, ‘तर, उहाँले (देउवा) मान्नुभएन ।’ नेपालका अनुसार एकीकृत समाजवादीका १४ जना सांसदलाई सभामुख अग्निप्रसाद सापकोटाले तुरुन्त कारबाही गर्नुपर्ने, यदी सभामुखले कारबाही नगरेमा राजीनामा दिनुपर्ने पहिलो सर्त राखेका थिए । दोस्रो सर्त एकीकृत समाजवादीको वैधाानिकतालाई रद्द गरिदिने, तेस्रो पाँच दलको गठबन्धनलाई भंग गरिदिने र चौथो तीनवटा प्रदेशका मुख्यमन्त्री एमालेको भागमा दिनुपर्ने सर्त राखेको, तर प्रधानमन्त्री देउवाले अस्वीकार गरेका नेपालले जानकारी दिएका छन् ।
पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश, म्यानेजर जोशी एक लाख धरौटीमा रिहा काठमाडौं । नाबालिका बलात्कार आरोपमा पक्राउ परेका नायक पूर्ण विक्रम शाह (पल शाह)लाई तनहु जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। तनहुँ जिल्ला अदालतका न्यायाधीश हरिषचन्द्र ढुंगानाको एकल इजलासले थुनछेक बहसपछि बिहिबार शाहलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। पल शाहका म्यानेजर कृष्ण जोशी भने एक लाख धरौटीमा रिहा भएका छन् । बुधबारदेखि जिल्ला न्यायाधीश हरिषचन्द्र ढुंगानाको बन्द इजालसमा बहस सुरु भएको थियो । सोमबार जिल्ला प्रहरी कार्यालय तनहुँले अनुसन्धान सकेर प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यायलमा बुझाएको थियो । सरकारी वकिलको कार्यालयले मंगलबार मुद्दा दर्ता गराएको हो । १२ देखि १४ वर्षको कैद सजाय माग गर्दै जिल्ला अदालत तनहुँमा सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गराएको हो । प्रहरीले बुझाएको प्रतिवेदनको आधारमा पीडित बालिका १६ वर्ष कम उमेर भएकाले १२ देखि १४ वर्षसम्मको कैद सजायको र मनासिव क्षतिपुर्ती माग गर्दै मुद्दा दर्ता गरिएको थियो । पलका म्यानेजर जोशीलाई आधा सजायको माग गरिएको थियो । मंगलबार पलको बयान लिइएकोमा बुधबार उनको म्यानेजर कृष्णप्रसाद जोशीको बयान लिएर सकाएपछि थुनछेक बहस सुरु भएको हो ।
पल शाह प्रकरणः थुनछेक बहस सकियो, आदेश आजै आउने तनहुँ । नाबालिग गायिकालाई जर्बजस्ती करणी गरेको अभियोगमा नायक पल शाहविरुद्ध परेको मुद्दामा थुनछेक बहस सकिएको छ । थुनछेक बहस सकिएसँगै आज नै थुनछेक आदेश आउने जिल्ला अदालत तनहुँका सूचना अधिकारी हरिचन्द्र गौतमले बताए । उनी भन्छन्, ‘बहस सकिएको छ । आदेश आजै आउँछ ।’ उनका अनुसार जाहेरवालाको पक्षबाट दुई जना सरकारी वकिलसहित नौजना कानुन व्यवसायीले बहस गरेका थिए । प्रतिवादीका तर्फबाट ११ जनाले बहस गरेको उनले जानकारी दिए । जाहेरवाला पक्षको बुधबार नै बहस सकिएको थियो । प्रतिवादीको तर्फबाट तीनजनाले बहस गरेका थिए । तेस्रो कानुन व्यवसायीको बहसबाट बिहीबार सुरु भएको हो । बुधरदेखि जिल्ला न्यायाधीश हरिषचन्द्र ढुंगानाको बन्द इजालसमा बहस सुरु भएको थियो । सोमबार जिल्ला प्रहरी कार्यालय तनहुँले अनुसन्धान सकेर प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यायलमा बुझाएको थियो । सरकारी वकिलको कार्यालयले मंगलबार मुद्दा दर्ता गराएको हो । १२ देखि १४ वर्षको कैद सजाय माग गर्दै जिल्ला अदालत तनहुँमा सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गराएको हो । प्रहरीले बुझाएको प्रतिवेदनको आधारमा पीडित बालिका १६ वर्ष कम उमेर भएकाले १२ देखि १४ वर्षसम्मको कैद सजायको र मनासिव क्षतिपुर्ती माग गर्दै मुद्दा दर्ता गरिएको छ । पलका म्यानेजर जोशीलाई आधा सजायको माग गरिएको छ । मंगलबार पलको बयान लिइएकोमा बुधबार उनको म्यानेजर कृष्णप्रसाद जोशीको बयान लिएर सकाएपछि थुनछेक बहस सुरु भएको थियो ।
चुनावमा होमिएका राजनीतिक दल बल्ल घोषणपत्रको तयारीमा काठमाडौं। आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दलका नेता, कार्यकर्ताहरु यति बेला चुनावी अभियानमा केन्द्रित छन्। चुनावी परिणाम आफू अनुकूल बनाउन ठूला पार्टीका ठूला नेतादेखि सबै साना दलहरु तीब्र रुपमा प्रचार प्रसारमा लागेका छन्। तर देशका राजनीतिक दलहरु कुनै खास चुनावी एजेण्डा भन्दा एक अर्कालाई गालीगलौज र आरोप प्रत्यारोप मै केन्द्रित रहेर चुनावमा होमिएका छन्। कार्यकर्ता माझ कुनै पनि दलको आगामी राजनीतिक घोषणा पत्र र चुनावी एजेण्डा देखिँदैन। लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष आवधिक निर्वाचनलाई मानिन्छ। त्यसैले निर्वाचन भनेको जनताको प्रत्यक्ष दैनिकीमा प्रभाव पार्ने खालको एजेण्डा हुनुपर्ने हो। तर राजनीतिक दलहरु एजेण्डाभन्दा पनि विपक्षी दललाई गालीगलौज, आरोप प्रत्यारोप लगाएर नै मतदाता आफ्नो पक्षमा बनाउन लागिरहेका छन्। प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालसहित सबै पार्टीका केन्द्रीय नेताहरु देश दौडाहामा छन्। कांग्रेसले गत फागुन २९ गते देखि चैत २९ गतेसम्म ‘घर घर जाऔं कांग्रेस जिताऔं’ अभियान सञ्चालन गरेको छ। सो अभियानले एमसीसी बारे भएको भ्रम र यथार्थ जनतालाई बुझाउने उद्देश्य राखेको जनाएको छ। तर कुनै जनताको दैनिकीमा प्रभाव पर्न सक्ने घोषणा पत्र र नारा बनाउन सकेको छैन। एमालेका अध्यक्ष केपी शर्मा ओली पनि देश दौडाहामा छन्। तर एमालेसँग पनि निर्वाचन लक्षित न कुनै नारा र न एजेण्डा नै। ओलीका भाषण चुनाव केन्द्रित सभामा एमालेबाट विभाजन भएको माधव नेपाल समूहलाई गालीगलौज र सत्तागठबन्धनलाई आरोप लगाउन मै केन्द्रित देखिन्छन्। माओवादी र नेकपा (एस)को कमजोर संगठन भएका कारण चुनावमा गठबन्धन कसरी जोगाउने र आफ्नो अस्तित्व कसरी कायम गर्ने मै केन्द्रित छन्। निर्वाचन आयोगको कार्यतालिका अनुसार आगामी बैशाख ११ र १२ गते उम्मेदवारको मनोनयन दर्ता कार्यक्रम रहेको छ। यो अवधि भनेको अब करिब १ महिना हो। त्यसैले राजनीतिक दलको चुनावी एजेण्डा र घोषणा पत्र कहिले आउँछ भन्ने  निकै कौतुहलताको विषय बनेको छ। कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतका अनुसार स्थानीय आवश्यक्ता अनुसार स्थानीय तहले नै घोषणा पत्र बनाउने भएकाले केन्द्रबाट निर्देशन दिइसकेको हुनाले चैत मसान्त भित्र घोषणा पत्र सार्वजनिक हुने बताए। ‘घोषणा पत्र दुई किसिमको हुन्छ। एउटा राष्ट्रिय तहको र अर्को स्थानीय तहको आधारमा हुन्छ। अहिले हामी राष्ट्रिय तहको घोषणा पत्रको गृहकार्य गर्दै छौँ। मुलुक संघीयतामा गइसकेपछिको दोस्रो निर्वाचनको नजिक आएका छौँ,’ महतले भने, ‘त्यसकारण यो अवधिमा भएको उपलब्धी, जनताले महशुस गरेका कानूनी प्रत्याभूति तथा कम्युनिष्टका कारण देशले भोग्नु परेको दुर्गती तथा आगामी देश विकासको लक्ष्यसहित विभिन्न पक्ष समेटेर कांग्रेसको घोषणा पत्र आउँछ। तर स्थानीय तहको निर्वाचनको हकमा भने स्थानीय जनताको आवश्यक्ताको आधारमा घोषणा पत्र बनाउनुपर्ने भएकाले त्यो कुरा केन्द्रबाट हुँदैन। त्यसैले स्थानीय तहमा कस्तो समस्या छ? सो समस्याको समाधानमा केन्द्रित रहेर हाम्रो पार्टीको स्थानीय समितिले नै बनाउनु हुन्छ।’ एमालेले पनि आज बस्ने पोलिटब्युरो सदस्यको बैठकले एउटा टिम बनाएर गृहकार्य गर्ने जनाएको छ। एमाले प्रमुख सचेतक बिशाल भट्राईले भने ‘हामी अहिले पोलिटब्युरो सदस्यको बैठक बसिरहेका छौँ। आज नै एउटा टिम बनाएर गृहकार्य थाल्छौँ। एउटा राष्ट्रिय स्तरको बनाउँछौँ र अर्को स्थानीय स्तरको बनाउँछौँ।’ माओवादी नेता हरिवोल गजुरेल पनि पार्टीको घोषणा पत्र ‘ड्राफ्ट’ भइसकेकाले फाईनल हुन मात्र बाँकी रहेको बताउँछन्। ‘हाम्रो पार्टीको घोषणा पत्र ‘ड्राफ्ट’ भइसकेको छ अब फाईनल गर्न मात्र बाँकी हो। चैत ८ गते पार्टीको प्रदेश ईन्चार्जहरुको एउटा संयुक्त बैठक छ। सो बैठक पश्चात एउटा राष्ट्रिय लेभलको र अर्को स्थानीय लेभलको घोषणा पत्र सार्वजनिक गर्छौँ,’ गजुरेलले भने। नेकपा (एस) ले पनि एक हप्ता भित्रमा सार्वजनिक गर्ने गरि आन्तरिक तयारीमा जुटेको जनाएको छ। नेता मेटमणि चौधरीका अनुसार घोषणा पत्रको ‘ड्राफ्ट’ अन्तिम चरणमा पुगेकाले एक हप्ता सम्ममा सार्वजनिक हुने बताए।
विवेकशील साझाको मिलन पाण्डेपक्ष बिभिन्न दलसँग गठबन्धन गर्दै अघि बढ्ने काठमाडौं । विवेकशील साझा पार्टीका नेता मिलन पाण्डेले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । रवीन्द्र मिश्र पक्षले पार्टीबाट साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको, तथा पार्टीको विधान संशोधन गरेको निर्णयविरुद्ध पाण्डेले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । पाण्डेको रिटमा मिश्र पक्षले गरेको कारबाही खारेजी र पार्टीको विधान २०७८ खारेज गरि अघिल्लो विधान कायम गर्न माग गरिएको थियो । मिश्र पक्षले बहुमत पुर्‍याएर गरेको निष्कासित तथा विधान संशोधनको निर्णय प्रमाणीकरण र अद्यावधिक गरेकोमा निर्वाचन पाण्डेले आयोग समेतलाई विपक्षी बनाएर गत फागुन १३ गते सर्वोच्चमा रिट दायर गरेका थिए । विवेकशीलका तर्फबाट अधिवक्ताहरू डा भीमार्जुन आचार्य, निरूपमा यादव (प्रमुख, कानुनी मामिला विभाग, विवेकशील साझा पार्टी), समीक्षा बास्कोटा, मुकुन्द अधिकारी, अमृत पुडासैनी र जयन्ती गिरीले बहस गरेका थिए । रिट निवेदकका तर्फबाट भने वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीलगायतले बहस गरेका थिए । अन्तरिम आदेश जारी नभए पनि पाण्डे समूहले भने अन्तिम फैसला भइ न्यायिक निरूपण नटुङ्गिएसम्म कानुनी लडाइँ जारी राख्ने जनाएको छ । यसबीचमा विभिन्न राजनीतिक दल र समूहहरूसँग गठबन्धन र ध्रुवीकरण गर्ने पूर्ववत् निर्णयअनुसार स्थानीय चुनावमा सक्रिय हुने पनि पाण्डे समूहले जनाएको छ ।
सात दिनभित्र बक्यौता रकम तिर्न एयरलाइन्सलाई प्राधिकरणको अल्टिमेटम काठमाडौं । पटकपटक ताकेता गर्दा पनि केही एयरलाइन्सले बक्यौता रकम नतिरेपछि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले कारबाही गर्ने भएको छ । प्राधिकरणले हाल सञ्चालनमा नरहेका तर बाँकी बक्यौता नतिर्ने विभिन्न सात एयरलाइन्सलाई कारबाहीको तयारी गरेको हो । ती एयरलाइन्सलाई सात दिनभित्र बक्यौता रकम बुझाउन प्राधिकरणले आज सार्वजनिक सूचना निकालेर ताकेता गरेको छ । बक्यौता रकम नबुझाउने एयरलाइन्सलाई कानूनी दायरामा ल्याइने प्राधिकरणले जनाएको छ । प्राधिकरणका महानिर्देशक इञ्जिनीयर प्रदीप अधिकारीले सात दिनभित्र एयरलाइन्सले बक्यौता रकम नबुझाए कार्बाही गरिने बताए । उनका अनुसार बक्यौता बुझाउने सात दिने समय सकिएपछि बक्यौता रकम नबुझाउने सम्बन्धित एयरलाइन्सका सञ्चालकलाई विदेश भ्रमण रोक्नेदेखि बैंक खाता रोक्का गरिनेछ । महानिर्देशक अधिकारीले भने, “यो सूचनापछि तुरुतै प्रवेशाज्ञा रोक्का हुन्छ । विदेश भ्रमण र नेपाल भरका बैंक खाता रोक्का गरिनेछ ।” बक्यौता नतिर्ने एयरलाइन्स कम्पनीमा नेकोन एयर, शिवानी एयर, गोरखा एयर, माउन्टेन एयर, कस्मिक एयर, स्काइलाइन एयरवेज र एयर काष्ठमण्डप रहेका छन् । यीमध्ये नेकोन एयरको रु चार करोड ७२ लाख २५ हजार ३४३, शिवानी एयरले रु ५५ लाख ५१ हजार ५३, गोरखा एयरको रु २० लाख ३५ हजार २९ रहेको छ । कस्मिक एयरले रु तीन करोड ४७ लाख ५८ हजार ७०, स्काइलाइन एयरवेजले रु सात लाख ८० हजार ४०० एयर काष्ठमण्डपले रु सात लाख ३८ हजार ४४७ र माउण्टेन एयरले रु छ लाख १० हजार ८३४, बक्यौता बुझाउन बाँकी छ । प्राधिकरणका अनुसार ताकेतापछि कर्णाली एयरले बक्यौता तिरेको छ । बक्यौता नतिर्ने अन्य एयरलाइन्सलाई कारबाही गरिने प्राधिकरणले जनाएको छ । प्राधिकरणको बक्यौता नतिरेमा सरकारी बाँकी सरह असुल उपर गर्ने कानुनअनुसार सञ्चालकको जायजेथाबाट असुल उपर हुन सक्ने प्रावधान रहेको छ । विमानस्थल सेवा शुल्क नियमावलीअनुसार ती सञ्चालक तथा कम्पनीले भविष्यमा हवाई सेवा, विमानस्थल तथा प्राधिकरणसँग सम्बन्धित कुनै पनि प्रकारको सेवा लिन नपाउने जनाइएको छ ।
यस्तो छ प्रधानमन्त्री देउवालाई चुनावकै मुखमा भवन उद्घाटन गर्नुपर्ने कारण काठमाडौं । पछिल्ला केही दिनयता विभिन्न जिल्लामा आयोजित कार्यक्रममा व्यस्त बनेका प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चाँडै तनहुँ जाँदैछन् । नुवाकोट, रामेछाप, दोलखा र काभ्रेमा आयोजना गरिएका कार्यक्रममा सहभागी भएका देउवा १० चैतमा तनहुँमा जान लागेका हुन् । तनहुँ महोत्सवको उद्घाटन र एउटा गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्न देउवा त्यसतर्फ जाँदैछन् । देउवाको साथमा तनहुँ गृहजिल्ला भएका कांग्रेस नेता रामचन्द्र पौडेल पनि सहभागी हुने पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए । देउवाले जिल्ला महोत्सवको उद्घाटन गर्नुको साथै रिसिङ गाउँपालिकामा एउटा भवन उद्घाटन गर्ने कार्यक्रम तय भएको तनहुँ जिल्ला सभापति जितप्रकाश आलेले बताए । प्रधानमन्त्री देउवा र नेता पौडेल जिल्लामा आउने भएपछि चुनावी कार्यक्रम पनि सफल पार्न सहयोग पुग्ने उनले विश्वास व्यक्त गरेका छन् । यी बाहेक पनि देउवा अन्य जिल्लाका कार्यक्रममा जाने तयारी गरेको बुझिएको छ । औपचारिक कार्यक्रम र भवन उद्घाटनमा जाने भनिए पनि उनी चुनाव लक्षित प्रचारमा गएको देख्न सकिन्छ । औपचारिक कार्यक्रमको नाम दिएर जिल्लाका नेता कार्यकर्ता भेट्न पुगेको उनका भाषण र अभिव्यक्तिले प्रस्ट पारेको छ । गएका प्रत्येक कार्यक्रममा देउवाले चुनाव लक्षित विषयवस्तुमा केन्द्रित भएका बोलेका छन् भने प्रभावकारी ढंगले चुनावको प्रचार गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् । देउवाले नुवाकोटमा किस्पाङ र तादी गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन गरेका थिए भने रामेछापमा खिम्ती सवस्टेसनको उद्घाटन गरे । दोलखामा माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको अवलोकन गर्नुका साथै काभ्रेमा तेमाल गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन पनि गर्न पुगेका थिए । चुनावको मुखमा औपचारिक वा अनौपचारिक कार्यक्रममा सहभागी हुन भनेर गएपनि उद्देश्य भने चुनाव केन्द्रित गतिविधि बढाउने नै देखिएको छ । देउवा पुगेका सवै जिल्लामा पार्टी सभापति र कार्यकर्तासँग छुट्टै भेटघाट गरेर पार्टीको संगठन निर्माण र चुनाव केन्द्रित कार्यक्रम प्रभावकारी बनाउन निर्देशन दिएका छन् । कांग्रेस काभ्रेका सभापति तिर्थबहादुर लामाले प्रधानमन्त्रीसँगको भेटले ऊर्जा मिलेको बताए । कांग्रेस रामेछापका सभापति पूर्णबहादुर तामाङले पनि प्रधानमन्त्रीसँग औपचारिक कार्यक्रमबाहेक छुट्ट भेट भएको बताएका छन् । राजनीतिक विश्लेषक जैनेन्द्र जीवनले चुनावको मुखमा नेताहरू जनतासँग जोडिन चाहने भएकाले त्यही मौका छोपेर सकेसम्म बोलाएको सबै कार्यक्रममा जान खोज्ने बताए । ‘देश निर्माण, विकास र सुशासनमा महत्वपूर्ण निर्णय नगरी हल्लिएर बस्नुभन्दा जनताले बोलाएको ठाउँमा नेताहरू पुगेका हुन्, निर्वाचन आचारसंहिता सुरु भएपछि प्रचार गर्न नपाउने भएकाले पनि नेताहरुलाई अहिले दौडधूप बढेको छ,’ उनले भने । कांग्रेसले पदाधिकारी, केन्द्रीय कार्यसम्पादन समिति सदस्य र पार्टीको तर्फबाट प्रतिनिधित्व गर्ने सांसदहरूलाई चुनावी प्रचार अभियानमा खटाएको छैन । तर पार्टी सभापतिसहित अन्य नेताहरू आफ्नो अनुकूलतामा विभिन्न जिल्लामा पुगिरहेका छन् । प्रमुख प्रतिपक्षी दलका अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि विभिन्न कार्यक्रममा सक्रिय भएका छन् । यी सबै सक्रियतालाई चुनावी प्रचार प्रसारकै रूपमा लिन मिल्ने राजनीतिक विश्लेषक जैनेन्द्र जीवनको बुझाइ छ ।
भिक्षुलाई साढे ६ करोडको चिठ्ठा पर्‍यो, हजारौं मानिसलाई लाइन लगाएर सबै पैसा बाँड्दैछन् काठमाडौं। थाइल्याण्डका एक जना बौद्ध भिक्षुलाई १८ मिलियन भाट (६ करोड ५८ लाख रुपैयाँ) बराबरको लट्री पर्यो । त्यसपछि उनले आफूले जितेको पैसा मानिसहरुलाई बाँड्न सुरु गरे । यी भिक्षुले आफूले जितेको पैसा स्थानीय मानिसहरु, अन्य मन्दिरहरु र विभिन्न सामाजिक संगठनहरुलाई बाँडे । थाइल्याण्डको उत्तरी प्रान्त नखोन फनोमका यी ४७ वर्षका भिक्षुको नाम फ्रा क्रु फनोम हो । उनी वात फ्रा थात फनोम वोरामाहाविहान नामक एक बौद्ध मन्दिरमका सचिव पनि हुन् । थाइल्याण्डको अखबार द थाइगरका अनुसार भिक्षु फनोमले हालै १८ मिलियन भाटको लट्री जितेका थिए । अहिले उनले त्यही पैसा दान गरिरहेका छन् । उनका अनुसार उनी सामान्य अवस्थामा लट्री टिकट किन्दैनन् किनकि भिक्षुहरु कुनै पनि प्रकारको जुवामा सहभागी हुनु हुँदैन । तर, केही दिन पहिले एक स्थानीय पसले कोरोना महामारीका कारण आर्थिक रुपले संघर्ष गरिरहेको देखेपछि उनले ती पसलेको आर्थिक सहयोगको लागि उनकै पसलबाट लट्री टिकट किनिदिए । फनोमले आफूले जति पनि पैसा जिते त्यो सबै स्वर्गदूतहरुको भएको मान्छन् । उनी यो पैसा आफ्नो लागि राख्न चाहँदैनथे । त्यसैले उनले लट्रीमा जितेको पैसा मानिसहरुलाई बाँड्ने निर्णय गरे । त्यसपछि उनले हजारौं स्थानीय मानिसहरुलाई २०० भाट (७३० रुपैयाँ) का दरले बाँडिरहेका छन् । रिपोर्टमा बताइएअनुसार यी भिक्षुले पैसा दान गर्ने घोषणा गरेपछि पैसा लिन मानिसहरुको धेरै लामो लाइन लागेको थियो । उनले पैसा बाँड्न थालेसँगै हजारौं मानिसहरु मन्दिर आउन थालेका छन् । स्थिति यस्तो भएको छ कि प्रान्तका सरकारी अधिकारीहरुले भिडको निगरानी गरिरहेका छन् र भिडमा कोभिड प्रोटोकलको पालना पनि गराइरहेका छन् । उनले अहिलेसम्म स्थानीय मानिसहरुलाई १.५ मिलियन भाटबाँडिसकेका छन् । उनले आफूसँग भएको सबै पैसा दान गर्ने बताएका छन् ।
माथिल्लो तामाकोसीले पैदा गरेको आत्मविश्वासः स्वदेशी लगानीमा सम्भव छ ठूला परियोजना काठमाडौं । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनासँग जोडिएको सबै काम सम्पन्न भएको छ । स्वदेशी लगानीको राष्ट्रिय गौरवको आयोजना ११ वर्ष लगाएर निर्माण सम्पन्न भएको हो । ऊर्जा एवं देशको भौतिक विकासका जानकारले यस आयोजनालाई नेपाली मोडलको एक ‘विश्वविद्यालय’का रूपमा समेत अर्थ्याएका छन् । अनेकन दुःख, प्राकृतिक विपत्ति, ठेकेदारको गलत कार्यशैली तथा कोरोना त्रासका कारण समस्याको चक्रव्यूहमा फसेको आयोजनालाई सही अवस्थामा ल्याउन त्यसका सम्वद्ध कर्मचारीको भूमिका उत्तिकै रहेको छ । त्यसमा पनि समस्यामा फसेको आयोजनालाई सही ‘ट्रयाक’ मा ल्याउन नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको मेहेनत पनि उत्तिकै परेको छ । तत्कालीन ऊर्जामन्त्री वर्षमान पुनले नियमितरूपमा आयोजनाको अनुगमन गर्न, समस्या समाधान गर्न दिएको निर्देशन पनि अर्को महत्वपूर्ण पाटोको रुपमा स्थापित छ । आयोजनाको काम पूर्णरूपमा सम्पन्न नहुँदै गत असार २१ गते उद्घाटन गरियो । उद्घाटनको दिन आयोजनाले ७६ मेगावाट बिजुली उत्पादन गरेको बताए पनि खासमा भनिएजति उत्पादन हुनसकेको थिएन । उद्घाटनको त्यो हतारोका कारण बिजुली उत्पादन गर्ने उपकरणमा समस्या आएपछि कुलेखानीमा ल्याएर मर्मत गर्नुपरेको तथ्य प्राधिकरणको तत्कालीन नेतृत्वले सार्वजनिक गरेको थियो । उद्घाटनको दिन आयोजनाले मात्रै सात मेगावाट बिजुली उत्पादन गरेको थियो । आयोजनासँग जोडिएको र देशकै दोस्रो ठूलो नयाँ खिम्ती २२०\१३२ केभी क्षमताको सबस्टेशनसमेत उद्घाटन भएपछि एउटा परियोजना पूर्णरूपमा सकिएको छ । माथिल्लो तामाकोसी हाइड्रोपावर लिमिटेडले आयोजनासँग सम्वद्ध र सहयोगी सबैलाई सम्मान गरेको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, जिल्लास्थित प्रमुख राजनीतिक दलका नेता, निर्माण व्यवसायीको उपस्थितिमा आयोजनाका सम्वद्ध सबैलाई सम्मान गरे । यसबाट पनि आयोजनाको काम पूर्णरूपमा सकिएको अर्थमा लिन सकिन्छ । कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाले हालसम्म एक अर्ब युनिट बराबरको बिजुली प्रवाह गरिसकेको छ । नयाँ खिम्ती सबस्टेशन भएर प्रवाहित भएको बिजुलीको परिमाण हो यो । नेपालमा भौतिक विकास गर्नु आफैँमा कष्टसाध्य काम बनिरहेको छ । त्यसमाथि जलविद्युत् आयोजना, प्रसारण लाइनको निर्माण अर्को जटिलताको पाटो बनीदिएको छ । नकारात्मक मात्रै छैनन् विषयहरू । माथिल्लो तामाकोसी प्रणालीमा जोडिएपछि देश बिजुलीमा आत्मनिर्भर बनेको तथ्य पनि यसैसँग जोडिएर आएको छ । भलै त्यो वर्षाकालमा मात्रै किन नहोस् । लोडसेडिङको त्रास भोगेका नेपालीको आफ्नै लगानीमा ठूलो आयोजना पूर्णरूपमा सम्पन्न हुनु आफैँमा पनि विश्वास वृद्धि गर्ने र आत्मविश्वास पैदा गर्ने अवसर हो । त्यसो त प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले अनेकौँ हण्डर ठक्कर व्यहोर्दै आयोजनाको निर्माण सकिएको प्रतिक्रिया दिएका छन् । यसबाट जलविद्युत् र समग्र आर्थिक क्षेत्रको विकासमा एक ऐतिहासिक उपलब्धि हासिल भएको उनको भनाइ छ । त्यसो त घिसिङ सो आयोजनाका अध्यक्षसमेत हुन् । आयोजनाको सफलताले आगामी दिनमा यस्तै ठूला परियोजना स्वदेशी लगानी र व्यवस्थापनमा निर्माण गर्न सकिन्छ भन्ने अनुभव र आत्मविश्वाससमेत बढेको प्राधिकरणको भनाइ छ । बढी बिजुली माग हुने साँझ बिहानको समयमा समेत चार घण्टा पूर्ण क्षमतामा आयोजना चल्छ । यसबाट देशको विद्युत् प्रसारण प्रणालीमा महत्वपूर्ण योगदान गरेको छ । तामाकोसीको छेवैमा २० मेगावाट क्षमताको रोल्वालिङ खोला जलविद्युत् आयोजना पनि निर्माणको क्रममा छ । त्यसबाट उत्पादन भएको बिजुली पनि तामाकोसीमा मिसाइनेछ । सो आयोजना सम्पन्न भएपछि वार्षिक कूल दुई अर्ब २८ करोड युनिट विद्युत् उत्पादन हुनेछ । रोल्वालिङ खोलाको पानी तामाकोसीमा मिसाएर सुक्खायाममा करिब २२ करोड युनिट र २० मेगावाटको आयोजनाबाट थप १० करोड गरी जम्मा ३२ करोड युनिट बिजुली थप हुनेछ । तामाकोसीको बिजुली थपिँदा प्राधिकरणको आर्थिक स्वास्थ्यलाई मजबुत बनाउनसमेत सहयोग पुगेको छ । प्रतियुनिट औसतमा ४.०६ रुपैयाँमा विद्युत् खरिद बिक्री गरिएको छ । त्यसबाट आम उपभोक्ताले सस्तो दरमा बिजुली पाउने प्रत्याभूति भएको छ । आयोजनाको सञ्चालनपछि साँझ–बिहानको समयमा भारतबाट आयात गरिने विद्युत्को परिमाणमा करिब आधाभन्दा बढी घटेको घिसिङको भनाइ छ । बढी बिजुली माग हुने समयमा भारतबाट आयात गरिने विद्युत्को खरिद दर यस हिउँदमा प्रतियुनिट रु ३२ सम्म पुगेको छ । यस्तो अवस्थामा तामाकोसीको विद्युत् खरिद दर यो वर्ष अधिकतम ६ रुपैयाँ ९६ पैसा मात्रै रहेकाले पनि ठूलो धनराशि विदेश जानबाट रोकिएको छ । आयोजनाले गत भदौदेखि मात्रै पूर्ण क्षमतामा बिजुली उत्पादन थालेको हो । देशको कूल जडित क्षमता दुई हजार १५० मेगावाट बराबर पुगेको छ । नेपाली लगानीमा निर्माण गरिएको आयोजनाको सुरूआती लागत ब्याजबाहेक रु ३५ अब लाग्ने भनिए पनि कूल रु ८४ अर्ब लागेको छ । प्राकृतिक विपद्, सीमानाकामा भारतको अवरोध, गोरखा भूकम्प, कोरोना कहर, सुरूङमा भएको डिजाइन परिवर्तन तथा कोरोना कहरका कारण लागत बढेर रु ८४ अर्ब पुगेको हो । त्यसमा ब्याजमात्रै रु ३२ अर्ब छ । सुरूआती चरणमा रु १४ अर्ब बराबरको ब्याज रहने भनिए पनि त्यो बढेर रु ३२ अर्ब पुगेको हो । ब्याजबाहेकको लागत रु ५२ अर्ब पुगेको छ । आयोजनाबाट उत्पादित बिजुली ४७ किलोमिटर लामो २२० केभी डबल सर्किट प्रसारण लाइन हुँदै रामेछापको मन्थली नगरपालिका–१३ स्थित साँखेमा नवनिर्मित २२०र१३२ केभी क्षमताको नयाँ खिम्ती सबस्टेशनमा जोडिएको छ । सो सबस्टेशन हुँदै बिजुली ढल्केबरस्थित नेपाल विद्युत् प्राधिकरणको ४०० केभी क्षमताको सबस्टेशनमा लगिएको छ । विसं २०६८ भदौ १७ गते तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले सो आयोजनाको शिलान्याश गरेका थिए । आयोजनाको निर्माण सकिन भने ११ वर्ष लाग्यो । मुख्य सुरूङको संरचना निर्माणको डिजाइनमा भएको परिवर्तन, सीमानाकामा भारतले गरेको अवरोध, लामोसाँघु–चरिकोट सडक स्तरोन्नतिका कारण निर्माण सामग्री ढुवानीमा भएको अवरोध, हाइड्रोमेकानिकल ठेकेदारको कमजोर कार्यसम्पादन तथा कोरोनाका कारण आयोजना निर्माणमा ढिलाइ हुन पुग्यो । आयोजनाले वार्षिकरूपमा दुई हजार २८१ गिगावाट घण्टा ऊर्जा उत्पादन गर्छ । आयोजना अर्धजलाशयुक्त प्रकृतिको भएकाले पनि बढी बिजुली माग हुने साँझको समयमा औसतमा चार घण्टा पूर्ण क्षमतामा चलाउन सकिन्छ । सन् १९९९ मा अष्ट्रियन नागरिक डा क्रिश्चियन कल्हरले रोल्वालिङ जलविद्युत् आयोजनाका नामबाट पूर्व सम्भाव्यता अध्ययन गरी १२० मेगावाट क्षमता बराबरको बिजुली उत्पादन हुने प्रारम्भिक जानकारी दिएका थिए । अत्यन्तै सस्तो र आकर्षक देखिएपछि प्रधिकरणले विसं २०५७ देखि २०६० सम्म आफ्नै आर्थिक, भौतिक र मानवीय स्रोतको प्रयोग गरेर आयोजनाको सम्भाव्यता अध्ययन गरेको थियो । आयोजनामा प्राधिकरणको ४१ प्रतिशत शेयर छ । उत्पादित बिजुली प्रतियुनिट औसतमा तीन रूपैयाँ ५० पैसामा विद्युत् खरिद सम्झौता भएको छ । व्यापारिक उत्पादन भएको वर्ष औसतमा चार रूपैयाँ ६ पैसा प्रतियुनिटमा खरिद गर्ने सम्झौता गरिएको छ । प्राधिकरण र अपर तामाकोसी हाइड्रोपावर कम्पनी लिमिटेड कम्पनीबीच भएको सम्झौताअनुसार आयोजनाबाट उत्पादित बिजुलीको खरिद दर हालसम्मकै सस्तो हो । सोही कारणले प्राधिकरणलाई थप फाइदा हुने देखिएको छ । रासस
कांग्रेसले गठबन्धनभन्दा पनि धेरै सिट जित्न महत्व दिन्छः कांग्रेस प्रवक्ता डा.महत नेपालगञ्ज । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले कांग्रेसले चुनावी गठबन्धन हुन्छ कि हुँदैन भन्ने कुरामा भन्दा पार्टीलाई कसरी आगामी निर्वाचनमा जिताउने भन्ने विषयलाई केन्द्रमा राखेको बताएका छन् । कांग्रेसले सबैभन्दा बढी सिट कसरी हासिल गर्छ त्यही सोचेर अगाडि बढ्ने नीति अख्तियार गरेको उनले बताए। नेपाल प्रेस युनियन बाँके शाखाले सनिवार नेपालगञ्जमा आयोजना गरेको कार्यक्रममा प्रवक्ता डा। महतले सत्तारुढ गठबन्धनका बारेमा कांग्रेसलाई जे गर्दा फाइदा हुन्छ त्यसैअनुसार निर्णय लिने जोड दिए । उनले भने, ‘हामीलाई गठबन्धन गर्दा फाइदा हुन्छ कि नगर्दा त्यो विश्लेषण गर्छौं, भावनामा बगेर मात्र भएन, पार्टीलाई फाइदा हुने गरी निर्णय लिन्छौं ।’ उनले आगामी केन्द्रीय कमिटीको बैठकले यसबारे निर्णय लिने पनि स्पष्ट पारे । प्रवक्ता डा। महतले कांग्रेसले चैतभित्रै उम्मेदवारको टुंगो लगाउने दावी गर्दै भने, ‘हामी यसपटक समयमै उम्मेदवारहरूको टुंगो लगाएर निर्वाचनमा होमिन्छौं, अघिल्ला निर्वाचन जस्तो अन्तिम समयमा आएर निर्णय लिने काम यो पटक हुँदैन, चैतभित्रै उम्मेदवार टुंग्याउँछौं ।’ उनले निर्वाचन केन्द्रित ‘घर घर जाऔं, कांग्रेस जिताऔं’ अभियानलाई सफल बनाउन नेता कार्यकर्तालाई जनताको घरघरमा पुग्न आह्वान पनि गरे । उनले भने, ‘तपाईंहरू घर–घर जाऔं, कांग्रेस जिताऔं अभियान बोकेर जनताको घरदैलोमा जानुहोस्, अहिले चुनावी गठबन्धन हुन्छ कि हुँदैन भन्ने कुरामा भन्दा पार्टीलाई कसरी आगामी निर्वाचनमा जिताउन सकिन्छ भनेर लाग्नुस्, विपक्षी दलको दुष्प्रचार र गल्तीहरूको बारेमा बोल्नुस्, एमसीसीका बारेमा फैलाइएको भ्रम चिर्नुस् ।’ उनले उनले जित्ने गरी उम्मेदवार बनाउने कुरामा जोड दिँदै भने ‘यसपटक जित्ने मान्छेलाई मात्र उम्मेदवार बनाइने छ । मेरो–तेरो या यो गुट–त्यो गुट भन्ने हुँदैन, जसले जित्ने देखिन्छ, उसैलाई पार्टीले उम्मेदवार बनाउँछ ।’ प्रवक्ता डा। महतले एमसीसीका बारेमा सत्ता साझेदार वा विपक्षीले खडा गरेको भ्रमको पर्दा खुलेको र कांग्रेस सधैं सत्यका पक्षमा उभिने पार्टी भएको बताए । एमसीसी नेपालको हितमा भएकाले कांग्रेसले सत्तामा रहँदा वा प्रतिपक्षमा रहँदा पनि सधैं एउटै बोली बोलेको बताए ।
कक्षा १२ को परीक्षा जेठ १६ गतेबाट हुने (तालिकासहित) काठमाडौं। कक्षा १२ को वार्षिक परीक्षा आगामी जेठ १६ गतेदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले कक्षा १२ को परीक्षा जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो । सोही आधारमा बोर्डले परीक्षा तालिका समेत सार्वजनिक गरेको छ । जेठ १६, १७ र १८ गतेमध्ये कुनै एक दिनबाट परीक्षा सञ्चालन गर्नुपर्ने प्रस्ताव बोर्डको बैठकमा लगिएको थियो । बोर्ड बैठकले १६ गतेदेखि नै सञ्चालन गर्ने निर्णय गरेको हो । परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले यो वर्षदेखि कक्षा १२ को परीक्षा होम सेन्टरमा नभई तोकिएका केन्द्रहरूबाट सञ्चालन गरिने बताए । विगत दुई वर्ष होम सेन्टरमै परीक्षा गरिएको थियो । परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुनेछ । परीक्षा कोभिड १९ को संक्रमणबाट बच्न नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्दै सञ्चालन हुने नियन्त्रक शर्माले बताए । भौतिक दूरीको पालना गर्र्दै भौतिक उपस्थितिमै परीक्षा सञ्चालन हुनेछ ।
स्थायी शिक्षकको परीक्षा दिन जाँदा परिचयपत्र पनि देखाउनुपर्ने काठमाडौं । स्थायी शिक्षकको परीक्षाका लागि परीक्षार्थीले अब प्रवेशपत्रसँगै परिचयपत्र पनि देखाउनुपर्ने भएको छ । शिक्षक सेवा आयोगले चैत १५ देखि २१ गतेसम्म गर्न लागेको लिखित परीक्षामा प्रवेशपत्रसँगै आफ्नो परिचय खुल्ने परिचयपत्र अनिवार्य गरेको हो । शिक्षक सेवा आयोगले चैत १५, १७, १९ र २१ गते स्थायी शिक्षकको लागि खुल्ला तथा आन्तरिक प्रतियोगितात्मक परीक्षा सञ्चालन गर्दैछ । परीक्षामा सहभागी हुनेले प्राप्त गरेको प्रवेश पत्रमा उम्मेदवारको परिचय खुल्ने विवरणमा केही अस्पष्टता देखिएको गुनासो आउने गरेको आयोगले प्रस्ट पारेको छ । सोही आधारमा प्रवेशपत्रसँगै आफ्नो परिचय खुल्ने नागरिकता वा अध्यापन अनुमतिपत्र लिई परीक्षामा सहभागी हुन आयोगले आग्रह गरेको छ ।
कतारको प्रदर्शनी मेलामा नेपाली अलैंची ताप्लेजुङ । नेपालमा उत्पादन गरिएको अलैंची कतारको राजधानी दोहाको प्रदर्शनीमा राखिएको छ । पाँच दिनसम्म सञ्चालन भएको कतार एस्पोमा नेपाली अलैंची प्रदर्शन गरिएको हो । दोहामा पाँच दिन सञ्चालन भएको कतार एक्पो सम्पन्न भएको छ । त्यस एस्पोमा नेपाली अलैंची प्रदर्शनीमा राखिएको हो । फुङलिङ नगरपालिका -६ का भीमबहादुर गुरुङले उत्पादन गरेको अलैंची पुष्पलाल ओझाले ताप्लेजुङ ग्रेडिङ गरे । उनले झापाको बिर्तामोडमा प्याकेजिङ गरे । त्यहीं अलैंची दोहाको प्रदर्शनीमा राखिएको हो । अहिले प्रदर्शनका लागि दुबई पनि पठाइएको छ । ताप्लेजुङलगायत देशभरको उत्पादन कतार, साउदी अरब, दुबई लगायतका खाडी राष्ट्रमा पुग्छ । तर, नेपालको नामबाट नजाने सरोकारवाला बताउँछन् । नेपालकै नामबाट सिधै ति मुलुकमा पठाउने प्रक्रियाका लागि नेपालबाट अलैंची पठाएको वातावरण संरक्षण तथा विकास मञ्चका पूर्वअध्यक्ष चन्द्रप्रकाश भट्टराई (सिपी)ले बताए । उनका अनुसार गैरआवासीय नेपाली संघ (एनआरएन)को सहयोगमा कतारमा रहेका कुमार खड्का र काजिमान पौडेलमार्फत प्रदर्शनीमा राखिएको हो । याफ्रे कृषि उत्पादन प्रशोधन बिक्री तथा निकासी केन्द्र मार्फत लगिएको अलैंची कतारका नागरिकले अधिक मनपराएको र प्रकृयाका विषयमा भट्टराईले बताए । प्रदर्शनीमा बसेका पौडेलका अनुसार कतारका नागरिकको चासो देख्ता प्याकेजिङमा सुधार गरेर हवाइ जहाजमार्फत लैजान सकिने हिम्मत बढेको छ । ‘प्याकेजको बाहिर यहँको स्थानीय भाषामा लेख्नु पर्नेरहे छ,’ उनले भने, ‘यहँको नियमानुसार खाद्य गुणस्तर परीक्षण गराएर यो कस्तो ठाउँमा उत्पादन भएको भनेर खुलाउनु पर्ने रहेछ । कतारका नागरिकले अनिवार्य मसलाको रुपमा प्रयोग गर्दै आएको उनले बताए । भट्टराईले भने, ‘हामीले चिरा मसल तथा बाह्र मसल प्रयोग गरे जस्तै कतारका नागरिकहरुले अलैंचीको प्रयोग गर्ने गर्दछ ।’ कतारमा नेपाली अलैंची प्रतिकेजी १२० रियालमा खरिद बिक्री हुँदै आएको पौडेलले बताए ।अहिलेसम्म नेपालको अलैंची भारत जाने र भारतले आफ्नै ब्राण्ड बनाएर बिक्रि गर्ने गरेको छ ।
युक्रेनमा ज्यान गुमाउने रूसी सैनिकका परिवार के भन्छन् ? स्टीभ रोजेन्बर्ग, मस्को (बीबीसी) । एलेक्सेन्ड्रा तथा एन्टोनिना गिर्जाघरमा एउटा शवपेटिका छ। रुसको राष्ट्रिय झण्डाले बेरएको उक्त पेटिकामाथि एउटा टोपी र एउटा तस्बिर छन्। मिखाइल ओर्चिकोभ मोटर राइफल ब्रिगेडका सहकमान्डर थिए। युक्रेनमा भएको सैन्य कारबाहीका क्रममा उनको मृत्यु भयो। सशस्त्र रुसी सैनिकहरूले उक्त निधनमा सम्मान गारद अर्पण गरेका थिए। एक पादरी प्रार्थना गर्दै शवपेटिका घुमिरहेका थिए भने सजाउन प्रयोग गरिने फलामको एउटा भाँडामा धूप बालिएको छ। धूपको सुगन्ध प्रार्थनास्थलमा फैलिएको छ गिर्जाघरको साङ्गीतिक समूहले मधुर धुन बजाइरहेको छ। मृतक सैनिककी पत्नीले आफ्नो टाउको कालो कपडाले छोपेकी ढाकेकी छन् र उनलाई आफन्तहरूले सान्त्वना दिइरहेका छन्। युक्रेनमा कति रुसी सुरक्षाकर्मी मारिएका छन् त? सरकारले सार्वजनिक गरेको सङ्ख्याभन्दा अरू प्रकाशन गर्नु फौजदारी कसुर हुने व्यवस्था गरिएको छ। तथ्याङ्कमा अन्योल रुसको रक्षा मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार ४९८ सैनिकले क्रेम्लिनले भन्ने गरेको ‘विशेष सैन्य कारबाही’ मा ज्यान गुमाएका छन्। त्यो मार्च २ को तथ्याङ्क हो र त्यो अद्यावधिक नगरिएको दुई हप्ता भइसकेको छ। “हाम्रो देशको अवस्था सामान्य छैन,” भेला भएका मानिसहरूलाई पादरी भन्छन्, “सबैले त्यो बुझेकै छन्।” युक्रेनमा रहेका रुसी सैनिकहरू नायक भएको विश्वास सर्वसाधारणले गरून् भन्ने क्रेम्लिन चाहन्छ। आफ्नो कारबाही प्रतिरक्षाका लागि चालिएको कदम भएको बुझाइ मानिसहरूको होस् भन्ने उसको धारणा छ। हालै सरकारी टेलिभिजनको एउटा साप्ताहिक समाचार कार्यक्रममा प्रस्तोताले रुसले ‘अहिले हस्तक्षेप नगरेको भए तीन वर्षको अवधिमा युक्रेन परमाणुबमसहित नेटोमा आबद्ध हुने’ दाबी गरेका थिए। “(युक्रेन) साँच्चै क्राइमियातर्फ अघि बढ्थ्यो र त्यहाँबाट दक्षिण रुसतर्फ आउँथ्यो।” युक्रेनलाई अतिक्रमणकारी देखाउनेगरी त्यस्तो भ्रम पारिएको छ। कस्ट्रोमाका चोकहरूमा धेरै जनाले क्रेम्लिनको आधिकारिक धारणालाई विश्वास गरेको जस्तो देखिन्छ। सार्वजनिक मत निर्माणका लागि टेलिभिजनले खेल्ने प्रमुख भूमिकाका पनि त्यसका लागि आंशिक रूपमा जिम्मेवार छ। तर सङ्कटको घडीमा धेरै रुसीहरू आफ्नो नेताको वरपर गोलबन्द हुने गर्छन् र त्यस क्रममा उनीहरूले आफ्ना राष्ट्रपतिले गलत निर्णय गरेको हुनसक्ने विश्वास गर्दैनन्। “नेटोले ठ्याक्कै हाम्रो छेउमै (युक्रेनमा) पसल थाप्न चाहेको छ र उनीहरूसँग परमाणुअस्त्र छ,” निकोलाई भन्छन्, “पुटिनले ठिक गरेका छन्। उनले तिनीहरूलाई त्यसो गर्न दिएनन्।” “अन्तिमसम्म रुस अघि बढिरहनुपर्छ,” कामबाट अवकाश पाएकी नीना इभानोभ्ना भन्छिन्। “रुसी टेलिभिजनमा यसबारे प्राप्त भएका कति सूचनालाई तपाईँ विश्वास गर्नुहुन्छ?” मैले उनलाई सोधेँ। उनको उत्तर थियो, “म विश्वास गर्छु। किन विश्वास नगर्ने? मैले विश्वास नगर्ने भनेको इन्टरनेट हो।” इन्टरनेटलाई विश्वास नगर्नाको कारणबारे मैले सोध्दा उनले त्यसको कारण आफूलाई थाहा नभएको बताइन्। ‘युद्ध गलत’ सबैले युक्रेनमा जारी रुसी आक्रमणलाई समर्थन गर्दैनन्। निकोल्स्कोई गाउँमा म पादरी योआन बर्डिनको घरमा गएँ। उनले हालै युद्धविरोधी प्रवचन दिएका थिए र चर्चको वेबसाइटमार्फत् आफ्नो आलोचनात्मक धारणा बाहिर ल्याएका थिए। त्यसपछि उनलाई थुनामा राखिएको थियो र रुसी सशस्त्र बललाई “बदनाम” गर्नेहरूविरुद्ध लक्षित एउटा नयाँ कानुनअन्तर्गत जरिवाना गरिएको थियो। “मलाई लाग्छ कुनै पनि प्रकारको रक्तपात, जुनसुकै कारण वा तपाईँले जस्तोसुकै औचित्य पुष्टि गर्न खोजे पनि त्यो अझै पनि पाप हो,” पादरी योआन भन्छन्। “जसका कारण रगत चुहियो त्यसको दाग उसलाई लाग्छ। यदि कुनै आदेश दिइएको थियो भने आदेश दिनेलाई, त्यस्तो आदेश समर्थन गर्नेलाई र त्यो अवस्थामा मौन बस्ने सबै दोषी हुन्।” उनले थपे, “सबैभन्दा खराब भनेको घृणा उत्पन्न भइसकेको छ। यो बढ्दै बढ्दै जानेछ किनभने हामीले अवस्था अन्त्य हुने देखिरहेका छैनौँ।” “यसलाई समाप्त गर्न कुनै राजनीतिक इच्छाशक्ति देखिएको छैन। दुवै पक्षबीच घृणा बलियो भएर जानेछ र त्यो आउने दशकहरूमा हाम्रा मानिसहरूबीच पर्खाल बनेर ठडिनेछ।” शोक कस्ट्रोमास्थित अन्तिमसंस्कार स्थलमा आठ सैनिकले मिखाइलको शवपेटिकालाई बोकेका थिए। एउटा सैनिक ब्यान्डले शोक धुन बजाएको थियो। त्यसपछि बन्दुकको सलामी दिइएको थियो भने रुसी राष्ट्रिय गान बजाइएको थियो। अनि बाकसलाई जमिनमुनि गाडिएको थियो। एउटा सङ्क्षिप्त मन्त्वयमा दिने कार्यक्रम पनि राखिएको थियो। “आफ्नो छोरा, भाइ वा पिता गुमाउनु सधैँ वियोगान्त हुन्छ तर हाम्रा नागरिक, हाम्रा सन्तान र हाम्रो देशको रक्षा गर्दै उनले ज्यान गुमाएकोमा हामीलाई गर्व छ।” कस्ट्रोमामा उनीहरूले मिखाइललाई ‘पितृभूमिको रक्षक’ भनेका थिए। रुसी सेनाले आफ्नो देशको सीमा पार गरेर सार्वभौम देशमा प्रवेश गरी राष्ट्रपति पुटिनको आदेशमा युक्रेनमाथि आक्रमण गरेको थियो। क्रेम्लिनका नेताले यो ‘विशेष कारबाहीको उद्देश्य’ युक्रेनलाई ‘निरस्त्र बनाउनु र नाजीमुक्त गराउनु’ रहेको बताउने गरेका छन्। युक्रेनको सरकार फासीवादीहरूले सञ्चालन गरेको भन्ने उक्त दृष्टिकोण वास्तविक होइन। हालैका दिनमा रुसी अधिकारीहरूले आफ्नो बृहत् उद्देश्य खासै लुकाएका छैनन्। रुसी विदेशमन्त्री सर्गेई लाभ्रोभले युक्रेनमा जे भइरहेको छ त्यो “विश्व मानचित्रमा पूर्ण सम्मान समेतको आफ्नो वैध स्वार्थसहित रहिरहनका लागि रुसका लागि जीवनमरणको लडाइँ भएको” बताएका थिए। अर्को शब्दमा, त्यो भूराजनीतिसँग जोडिएको छ र युक्रेनलाई रुसको प्रभाव क्षेत्रमै रहिरहन बाध्य पार्ने मस्कोको दृढतासँग जोडिएको छ। तर युक्रेनमा रहेको सरकार त्यही कुरालाई रोक्न दृढसङ्कल्प देखिएको छ।
युक्रेनमा रूसी सेना कमजोर हुँदै, खाद्यान्नलगायत आधारभूत सामग्रीको अभाव काठमाडौं । रुसी सेनाले युक्रेनमा आफ्नो आक्रमण जारी राख्न सङ्घर्ष गरिरहेको बेलायती रक्षा मन्त्रालयको पछिल्लो गुप्तचर आकलनले जनाएको छ। “युक्रेनमा कमजोर हुँदै गएको रुसी आक्रमणलाई खाद्य सामग्रीको समस्याले घेरिरहेको छ,” प्रतिवेदनमा उल्लेख गरिएको छ। सैनिकहरूले उनीहरूको सीमित गतिशीलता र हवाई लडाकु विमानहरूको अभावका कारण “खाना र इन्धनजस्ता आधारभूत आवश्यक वस्तु” अन्य सेनाहरूलाई प्रभावकारी ढङ्गमा पुनः आपूर्ति गर्न सकेका छैनन्। “युक्रेनको निरन्तर प्रत्याक्रमणहरूले रुसलाई आफ्नो आपूर्ति लाइनको रक्षा गर्न ठूलो सङ्ख्यामा सेना फिर्ता लग्न बाध्य तुल्याएको छ। यसले रुसको आक्रमण क्षमतालाई निकै सीमित गरिरहेको छ।” प्रतिवेदनले बिहीवार अमेरिकाले गरेको आकलनलाई प्रतिविम्बित गर्छ जसमा रुसको सेना “देशभित्र नै अल्झिएका छन्” भनिएको थियो।
लमजुङमा पर्यटकले एकआपसमा रङ दलेर मनाए होली लमजुङ । लमजुङमा विदेशी पर्यटकले एकआपसमा रङ दलेर होली पर्व मनाएका छन् । अन्नपुर्ण पदमार्गको प्रवेशद्धार लमजुङको सदरमुकाम बेसीशहरमा रंग दलेर शुभकामना साटासाट गरी होली मनाएका हुन् । फ्रान्सबाट नेपाल घुम्न आएकी इभानले पनि होली पर्व रमाइलो लागेको बताईन् । उनले भनीन् आफुले दुई तीन वर्षदेखी नेपालीहरुसँगै रङ दलेर नेपालमै होली मनाएको छु । पछिल्लो समय नेपालीले मनाउने होली पर्व पछिल्लो समय बिदेशी पर्यटकले पनि मनाउन थालेको बेसीशहरका दिपक तिमिल्सीना बताउँछन् । उनी भन्छन् यसवर्षको होली विदेशीसँग पनि रङ दलेर एकआपसमा शुभकामना साटेर मनाउन पाइयो । अन्नपुर्ण पदमार्गमा अहिले दैनिक ३०\४० जना विदेशी पर्यटक घुम्न आएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र धारापानीका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङले बताए । पदमार्गमा विशेषगरी इजरायल, जर्मनी, फ्रान्स, अष्ट्रेलिया, बेलायत र अमेरिकाका पर्यटकहरू आउने गरेको एक्यापको तथ्याङकमा उल्लेख छ । लमजुङ सदरमुकाम बेसीशहर अन्नपूर्ण पदमार्गको प्रवेशद्वारको रुपमा चिनिन्छ । बेसीशहरबाट खुदी, भुलभुले, ङादी, स्याँगे, जगत हुँदै मनाङ जिल्लाको ताल, बगरछाप, चामे हुँदै थोराङ पास हुँदै मुस्ताङ पुगेपछि अन्नपूर्ण पदयात्रा मार्गको यात्रा पूरा हुन्छ । लमजुङको सदरमुकाम वेसीशहरवाट सुरु हुने अन्नपूर्ण पदमार्गको यात्रा मनाङ हुँदै थोराङपास गरेर मुक्तिनाथ, जोमसोम, बेनी अथवा घोरेपानीबाट पोखरा पुगेर टुङ्गिन्छ ।
पर्यटन प्रवद्र्धनका लागि मौलिक कला, संस्कृतिलाई जोगाएर राख्नुपर्छः मन्त्री आले काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कला, संस्कृति भनेको देश चिनाउने गहना भएकाले यसको संरक्षण गर्न आवश्यक रहेको बताएका छन् । फागु पूर्णिमा (होली पर्व)का अवसरमा आज ज्यापु समाज यल ललितपुरले आयोजना गरेको संस्कृतिक कार्यक्रममा मन्त्री आलेले कुनै पनि हालतमा संस्कृति मासिन दिन नहुने बताएका हुन्। नेपाल कला र संस्कृतिको धनी भएकाले यहाँ पर्यटक भित्र्याउन तथा पर्यटन प्रवद्र्धनका लागि आफ्नो मौलिक कला, संस्कृतिलाई जोगाएर राख्नुपर्ने उनले धारणा राखे । कला, संस्कृतिबिना मान्छेको जीवन अधुरो हुने भएको उल्लेख गर्दै मन्त्री आलेले यसको जगेर्ना र संरक्षणका लागि युवापुस्ता अघि बढ्नुपर्ने धारणा व्यक्त गरे। पछिल्लो समय विभिन्न मठमन्दिर, धर्मशालालगायत क्षेत्र व्यक्तिगत स्वार्थका लागि अधिग्रहण गर्ने क्रम बढेको भन्दै उहाँले त्यस्ता व्यक्ति र समूहलाई कारबाहीको दायरामा ल्याइने बताए । पुरातात्विक महत्वका सम्पदाको संरक्षणका लागि आफू सधैँ कटिबद्ध रहेको मन्त्री आलेको भनाइ थियो । नेपालबाट केही समय पहिले चोरी भएका मूर्ति अमेरिका, बेलायत, फ्रान्स, इटालीलगायत देशबाट ल्याइएको उनले जानकारी दिए । उनले भने, “कोरोना महामारीका समयमा विदेशमा रहेका नेपालीलाई ल्याउन गरिएको चार्टर्ड उडानमा आर्थिक अनियमितता भएको छ, प्रमाण जुटाउँदै छौँ, चाँडै कानुनबमोजिम कारबाही गर्छौँँ ।”
नेपालबाट विद्युत निर्यातका लागि भारतसँग संवाद भइरहेको छः मन्त्री भुसाल काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेपालमा खपत हुन नसकेको विद्युत् निर्यातका लागि भारतसँग संवाद भइरहेको बताएकि छिन्। उनले जलविद्युत्मा लगानी गर्न निजी क्षेत्रलाई आह्वान पनि गरिन् । नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को सुनवल नगरपालिका–१३ मा निर्माण भएको २२०-१३२ केभी न्यू बुटवल सबस्टेशनको आज उद्घाटन गर्दै मन्त्री भुसालले भनिन्, “दुई वर्षभित्र सबै ठाउँमा विद्युत्को पहुँच पुर्‍याउने योजनाका साथ सरकार अघि बढेको छ, अहिले सबै क्षेत्रले विद्युत् उपभोग गर्न सक्ने वातावरण बनेको छ, अहिले उत्पादन भइरहेको विद्युत् बर्खामा खेर जाने गरेको छ, यसका लागि अन्तर्राष्ट्रिय बजारमा व्यापार गर्नुपर्ने अवस्था छ ।” मन्त्री भुसालले पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुँदै गइरहेको र ऊर्जा सङ्कट समाधान गर्न विद्युतीय उपकरणको प्रयोगमा जोड दिइन् । न्यू बुटवल सबस्टेशनको निर्माणले अब झ्यापझ्याप विद्युत् जाने समस्या समाधान हुने र गुणस्तरीय विद्युत् उपभोगमा टेवा पुग्ने उनले विश्वास व्यक्त गरिन् । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल सरकार र एशियाली विकास बैंकको ऋण सहयोगमा न्यू बुटवल सबस्टेशन निर्माण गरिएको बताए । अहिले सम्पन्न भएको १३२ र २२० केभीसम्मको संरचनाले पर्वतस्थित कुश्मा सबस्टेशन, चितवनस्थित भरतपुर सबस्टेशन, रुपन्देहीस्थित बुटवल सबस्टेशन र बर्दघाट सबस्टेशनसँग कनेक्टिभिटी प्रदान गर्ने उनले बताए । कालीगण्डकी नदी र त्यस आसपासका नदीहरूबाट मुस्ताङ, म्याग्दी र पर्वत जिल्लामा उत्पादन हुने विद्युत्लाई कुश्मा सबस्टेशनमार्फत यस सबस्टेशनसम्म ल्याई अन्य जडित सबस्टेशनमा आपूर्ति हुने बताइएको छ । आगामी दिनमा यस न्यू बुटवल सबस्टेशन विस्तार गरी ३३ र ११ केभीका संरचना तयार गरी त्यसमार्फत यस क्षेत्रमा विकास हुँदै गरेका औद्योगिक ग्राहक तथा स्थानीय क्षेत्रका गार्हस्थ्य उपभोक्ताका लागि गुणस्तरीय र भरपर्दो विद्युत् सेवा उपलब्ध गराउने योजना रहेकाले सोहीमार्फत स्थानीय विद्युत्को माग सम्बोधन हुने कार्यकारी निर्देशक घिसिङले जानकारी दिए। यस सबस्टेशनसँगै बन्ने ४०० केभीको संरचनाले अन्तरदेशीय प्रसारण लाइनमार्फत नेपालको विद्युत् भारततर्फ निर्यात गर्ने बाटो खुल्ने न्यू बुटवल सबस्टेशन आयोजना प्रमुख विश्वरञ्जन मिश्रले जानकारी दिनुभयो । सन् २०१७ नोभेम्बरबाट निर्माण सुरु भएको यो सबस्टेशन रु एक अर्ब पाँच करोडमा निर्माण सम्पन्न भएको आयोजना प्रमुख मिश्रले बताउनुभयो । नर्वेली राजदूत टोरुन ड्रम्डलले नेपालको अन्तरदेशीय प्रसारण लाइन विकासका लागि नर्वेले सहयोग गरेको बताउनुभयो । एडिबी नेपाल मिसनका प्रमुख रुडी भान डोयलले अन्तरदेशीय प्रसारण लाइनको विकासबाट नेपाल विद्युत्मा आत्मनिर्भर भई निर्यात गर्न सफल हुने विश्वास गरेको बताउनुभयो ।
जलवायु परिवर्तनले महिला र वालवालिकामा गम्भिर असर पारेको छः मन्त्री रेग्मी काठमाडौं । नेपालले जलवायु परिवर्तनका कारणले तापक्रममा वृद्धिको असरले हिमाली शृङ्खलाहरुमा हिउँ पग्लिँदै गएको र त्यसले नदीहरुमा सुक्खापनको वृद्धि भएकाले जनजीवनमा गम्भीर असर पारेको भन्दै अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गरेको छ । जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि विकसित देशहरुले प्रदान गर्ने १०० अर्ब डलरको प्रतिबद्धता पूरा गर्न समेत नेपालले अनुरोध गरेको छ । साथै सन् २०२५ सम्म यसको दोब्बर वृद्धि गरेर जलवायु परिवर्तनले महिला र बालिकाहरुमा पार्ने असर र जोखिम न्यूनीकरणका लागि पहल गर्न समेत आग्रह गरेको छ । अमेरिकाको न्यूयोर्कमा जारी महिलाहरुको अवस्थाका बारेमा राष्ट्रसङ्घीय ६६ औँ सत्रको लैङ्गिक समानताको लक्ष्य हासिलका लागि महिला तथा बालिकाहरुको सशक्तीकरणमा जलवायु परिर्वतन, वातावरण र जोखिम न्यूनीकरणका लागि नीति र कार्यक्रम विषयक सत्रलाई बुधबार सम्बोधन गर्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले नेपाल सरकारको धारणा राखेकि हुन् । उनले जलवायु परिवर्तनले विद्यमान लैङ्गिक असमानतामा समेत वृद्धि गर्ने र महिला र बालिकाको सुरक्षा बढ्ने भन्दै चिन्ता व्यक्त गरिन् । नेपालले महिलाहरुको सहभागिताका लागि सङ्घीय संसद् र प्रदेशसभामा ३३ प्रतिशत सुनिश्चित गरेको उल्लेख गर्दै मन्त्री रेग्मीले भनिन्, “संविधान प्रदत्त अधिकारका कारण अहिले नेपालको सङ्घीय संसद्मा ३३ प्रतिशत, प्रदेशसभामा ३४ प्रतिशत र स्थानीय निकायमा ४१ प्रतिशत महिला सहभागिता रहेको छ ।” मन्त्री रेग्मीले नेपालले विकासको प्राथमिकतामा लैङ्गिक समानता र महिलाको सशक्तीकरणलाई उच्च महत्व दिएको बताउनुभयो । उनले भनिन्, “नेपालले दक्षिण एशियामा नै पहिलो लैङ्गिक मैत्री बजेट निर्माण गर्दै आएको छ ।” उनले नेपालले राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को सदस्य र सिईडब्लुडीको समितिमा समेत रहेर मानव अधिकार तथा महिला तथा बालिकाको सुरक्षाको क्षेत्रमा योगदान दिँदै आएको बताइन् । न्यूयोर्कमा जारी कार्यक्रममा मन्त्री रेग्मीको नेतृत्वमा मन्त्रालयका सचिव हरि मैनाली, राष्ट्रसङ्घका लागि स्थायी नियोग प्रमुख राजदूत अमृत राई, मन्त्रालयका सहसचिव रोशनी श्रेष्ठ र बन्दना राणा नेपाली प्रतिनिधिमण्डलमा सहभागी रहेका छन् ।
स्थानीय तह निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित काठमाडौं । निर्वाचन आयोगले जारी गरेको स्थानीय तह सम्बन्धित निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित भएको छ । आज प्रकाशित भएको उक्त आचारसंहिता आयोगले तोकेको मितिबाट मात्र कार्यान्वयनमा जानेछ । यो आचारसंहिता सरकारी अधिकारीदेखि मतदातासम्मलाई लागू हुनेछ । एक भन्दा बढी राजनीतिक दल, उम्मेदवार वा दलको भातृ संगठनले एकै समयमा एकै स्थान वा मार्गमा जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला गर्न पाइनेछैन् । सार्वजनिक भवन, सार्वजनिक सडकका पोल वा कुनै सार्वजनिक स्थानमा दलको झण्डा, दल वा उम्मेदवारको निर्वाचन चिन्ह राख्न वा टाँस्न पाइनेछैन् । जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा प्रचार प्रसारका कार्यक्रम बिहान आठ बजेदेखि साँझ सात बजेसम्म मात्र गर्न पाइनेछ । निर्वाचन प्रसार प्रचारमा १८ वर्ष मुनिका बालबालिकालाई प्रयोग गर्न समेत पाइनेछैन । निर्वाचन अधिकृतको अनुमति लिई उम्मेदवार भएको सम्बन्धित निर्वाचन क्षेत्र वा उम्मेदवार भएको स्थानमा बढीमा दुई वटा दुई पांग्रे वा तीन पांग्रे वा चार पांग्रे विद्युतीय तथा यान्त्रिक शक्तिबाट चलने हलुका सवारी साधन र त्यस्ता सवारी साधन नचल्ने ठाउँमा चारवटा घोडा प्रयोग गर्न सक्नेछन् । राजनीतिक दलको प्रचार प्रसारको लागि आफ्नो तर्फबाट दुई जना मुख्य प्रचारकको नाम आयोगमा बुझाउनुपर्ने र आयोगले अनुमति दिएका मुख्य प्रचारकले मात्र हेलिकोप्टर सेवा प्रयोग गर्न पाउनेछन् । निर्वाचन प्रचार प्रसारका लागि विदेशी नम्बर प्लेटको सवारी साधनलाई अनुमतिपत्र नदिइने आयोगको आचारसंहितामा उल्लेख गरिएको छ ।
संशोधित राष्ट्रिय प्रसारण नियमावली, २०७८ सच्याउन माग काठमाडौ । नेपालको सञ्चार क्षेत्रका जानकारहरुले हालैको ‘संशोधित राष्ट्रिय प्रसारण नियमावली, २०७८ ले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्न खोजेको आरोप लगाउँदै त्यसलाई सच्याउन माग गरेका छन् । नेपाल पत्रकार महासङ्घ डिजिटल तथा अनलाइन विभागको आयोजना र अनलाइन टिभी पत्रकार सङ्घ नेपालको सहकार्यमा ‘संशोधित राष्ट्रिय प्रसारण नियमावली, २०७८ माथिको छलफलमा उनीहरुले सरकारले कानून निर्माण गर्दा सरोकारवालासँगको सुझावसहित निर्माण गर्ने विगतको अभ्यासलाई निरन्तरता नदिइ यस पटक यो नियमावली ल्याइएकामा आपत्ति पनि प्रकट गरे । नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोख्रेलले सरकारले निर्माणका क्रममा रहेका कतिपय ऐनले हालको समस्यालाई सम्बोधन गर्ने भए पनि सरकारले यो विवादास्पद नियमावली ल्याएको बताए । तर सूचना तथा प्रसारण विभागका महानिर्देशक गोगनबहादुर हमालले भने सरकारले ल्याएको संशोधित राष्ट्रिय प्रसारण नियमावली, २०७८ का केही प्रावधानले कतिपय अस्पष्टता गरेको भन्दै त्यसलाई निर्देशिकामार्फत स्पष्ट पारिने बताए । उनले यो नियमावली संसद्को विधायन समितिमा छलफल गरी मन्त्रिपरिषद्बाट जारी गरिएको भन्दै जनताको अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्ने सरकारको नियत नरहेको बताए । प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले नियमावलीमा देखिएका प्राविधिक समस्याहरुलाई सरोकारवालासँगको छलफल र सुझावका आधारमा सच्याउनुपर्ने धारणा राखे । नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले आफूहरु प्रेससम्बन्धी कानूनका पक्षमा रहेको भन्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता नियन्त्रण गर्ने कानून स्वीकार्न नसकिने बताए । उनले सरकारले एकपछि अर्को गर्दै प्रेस नियन्त्रण गर्ने कानून निर्माण गरिरहेको भन्दै त्यसो नगर्न सरकारलाई आग्रह गरे । नेपाल पत्रकार महासङ्घका पूर्वसभापति तारानाथ दाहालले सञ्चारसम्बन्धी कानुन ल्याउँदा सरकारले प्रजातन्त्रको मूल्यमान्यतामा आँच आउँछ कि भनेर हेक्का राख्नुपर्ने बताउँदै यस्ता नियम तथा कानुनहरु सरोकारवालासँग छलफल गरेर जारी गर्नुपर्नेमा जोड दिए । अनलाइन टिभी पत्रकार सङ्घ, नेपालका अध्यक्ष जीवन भण्डारीले नियमावलीमा रहेको इन्टरनेट टिभीका लागि इजाजत लिनुपर्ने व्यवस्था खारेज हुनुपर्ने माग गर्दै अनलाइन टिभीको परिभाषा गलत रहेकाले त्यसलाई सच्याउनुपर्ने माग गरे ।
किर्ते बिल बनाई अनियमितता गर्ने चार कर्मचारी निलम्बित ताप्लेजुङ । ताप्लेजुङ जिल्ला अस्पतालको फार्मेसीमा औषधीको किर्ते बिल बनाएर अनियमितता गरेको विषय बाहिरिएसँगै चार जना कर्मचारी निलम्बित भएका छन् । अनियमितताबारे यथार्थता नआउँदासम्मका लागि अस्पतालको फार्मेसी फाँटमा कार्यरत चार जना कर्मचारीलाई निलम्बन गरिएको हो । अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिको बुधबार बसेको बैठकले फार्मेसी फाँटका चार जना कर्मचारीलाई निलम्बन गर्ने निर्णय गर्दै सहायक प्रमुख जिल्ला अधिकारी यमबहादुर भट्टराईको संयोजकत्वमा एक छानबिन समितिसमेत गठन गरेको छ । अस्पतालको फार्मेसीको औषधि विक्री वितरणमा अनियमितता भएको भन्ने चर्चा सार्वजनिक हुने गम्भीर विषय भएकोले सहायक प्रजिअको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति बनाएको अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष घनेन्द्र मादेनले जानकारी दिए । जिल्ला समन्वय समिति प्रमुखसमेत रहनुभएका मादेनले यस विषयलाई गम्भीर रूपमा लिँदै छानबिन गरिने र यथार्थता पत्ता लगाउने बताए । चिकित्सकहरूको पुर्जामाथि आफैँ औषधि विवरण थपेर बिरामीबाट अतिरिक्त रकम असुलीमा फार्मेसीमा कार्यरत कर्मचारीहरूको सम्भावित संलग्नता पाइएको समिति बैठकले ठहर्‍याएको छ । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत मोटो रकमको कागजातसहित बीमा दाबी पेस गरी बिरामी, अस्पताल र बीमा बोर्डलाई नै आर्थिक भार पर्नेगरी अनैतिक क्रियाकलाप गरेको हुनसक्ने देखिएको पनि छानबिन समिति बनाएको बताइएको छ । सहायक प्रजिअ भट्टराईको संयोजकत्वमा समिति सदस्यमा जिल्ला अस्पतालका डाक्टर दीपेन्द्र बोखिम, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राकेश यादव, कोष तथा लेखा नियन्त्रक कार्यालयका दुर्गा थापा र स्वास्थ्य कार्यालयका कम्प्युटर सहायक विवेक थुलुङ रहेका छन् । समितिले पाँच दिनभित्र प्रतिवेदन बुझाउने गरी जिम्मेवारी दिइएको प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए । यता जिल्ला अस्पतालको फार्मेसीमा अनैतिक रूपमा औषधि बिक्री वितरण र आर्थिक अनियमितता भएको विषय बाहिरिएसँगै उपचार सेवा प्रभावित भएको छ । अस्पतालका केही चिकित्सकमाथि आक्रमणको प्रयाससमेत भएकोभन्दै मङ्गलबारदेखि उनीहरू काम नफर्किएपछि सेवा प्रभावित बन्दै आएको हो । आक्रमणको प्रयास भएपछि आफूहरू असुरक्षित भएकोभन्दै सुरक्षाको प्रत्याभूति नभएसम्म काममा नफर्कने पनि चिकित्सकले बताएका छन् ।
कुलोको समिति गठन गर्ने भनि एमाले प्रवेश गराएकोमा माओवादी नेताको आपत्ति (विज्ञप्तिसहित) दाङ। माओवादी केन्द्रका चारजना नेताले कुलोको समिति गठन गर्ने भनेर एमाले प्रवेश गराएकोमा आपत्ति जनाएका छन्। तुलसीपर उपमहानगरपालिका–१० राईखलियानमा कुलोको समिति गठन गर्न भनेर हस्ताक्षर गराएर एमाले प्रवेश गराएको भन्दै उनीहरूले आपत्ति जनाउँदै आफूहरू माओवादी केन्द्रमै रहेको बताएका छन्। माओवादी नेताहरू सीताराम चौधरी, दशिराम चौधरी, निमबहादुर चौधरी र जीतराम चौधरीले संयुक्त विज्ञप्ति निकालेर आफूहरू एमालेमा प्रवेश नगरेको र माओवादी केन्द्रमै रहेको बताएका हुन्। ‘२६ फागुनमा तुलसीपर उपमहानगरपालिका–१० राईखलियानमा कुलोको समिति गठन गर्ने भनि हामीहरुलाई बोलाइयो। त्यहाँ कुलोको समिति भनि सिताराम चौधरीको नेतृत्वमा एउटा समिति पनि निर्माण गरियो। तर, पछि सामाजिक सन्जालमा एमालेको तुलसीबन्धना टोल कमिटी गठन गरिएको भनि प्रचार गरियो,’ जारी विज्ञप्तिमा उनीहरुले भनेका छन्, ‘विगतदेखि नै माओवादी केन्द्रमा सक्रिय भएर काम गरेको र अहिले पनि माओवादी केन्द्रमै रहेको करा जानकारी गराउँदै एमालेले गरेको यस्तो भ्रमित कार्यको कसैले पनि विश्वास नगर्न हुन् अनुरोध गर्दछु।’
एन्टी डोपिङ अभियानलाई सार्थक तुल्याउँछौँः मन्त्री गहतराज काठमाडौं । युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले नेपालले खेलकुदमा एन्टी डोपिङको अभियानलाई सार्थक बनाउने बताएका छन् । संयुक्त अरब इमिरेट्स (युएई) को दुबईमा जारी खेलकुदमा एन्टी डोपिङसम्बन्धी १७औँ एशिया/ओशिनिया क्षेत्र अन्तरसरकारी मन्त्रीस्तरीय बैठकमा मन्त्री गहतराजले नेपालको तर्फबाट प्रतिबद्धतासहितको प्रस्तुती गरेकाहुन् । यस्तै मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले नेपालले राष्ट्रिय एन्टी डोपिङ संस्था बनाउने क्रममा निर्देशक समिति गठन गरी प्रक्रिया सुरु गरेको बताए । उनले आगामी दिनमा एन्टी डोपिङसम्बन्धी नीति तथा कानुन निर्माण गरी खेललाई स्वच्छ बनाउन सकारात्मक योगदान पुग्ने धारणा व्यक्त गरे । बैठकमा नेपालको प्रयासको सहभागी राष्ट्रले सराहना गरेका सचिव रेग्मीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । बैठकमा ४५ देशको सहभागिता रहेको छ । बैठकले सन् २०२२ देखि २०२४ सम्मका लागि रणनीति पारित गरेको छ । सचिव रेग्मीका अनुसार, खेललाई स्वच्छ बनाउन एन्टी डोपिङ संस्थालाई थप प्रभावकारी बनाउने कुरामा जोड दिइएको छ । नेपाली प्रतिनिधिमण्डलले विश्व एन्टी डोपिङ सङ्घ र क्षेत्रीय एन्टी डोपिङ सङ्घका पदाधिकारीसँग भेट गर्नाका साथै एन्टी डोपिङमा नेपाललाई सहयोग गर्न अनुरोध गरेको थियो ।
एमसीसी बारेको भ्रम चिर्न कांग्रेसले तयार पार्‍यो पुस्तक काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले एमसीसी सम्झौताबारे प्रष्ट पार्न पुस्तिका प्रकाशन गरेको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यालयले एमसीसी अनुदान सहायता सम्झौता भ्रम र यथार्थ शीर्षकको पुस्तकनै प्रकाशन गरेर यसबारेको भ्रम चिर्न लागेको हो । अमेरिकी अनुदान सहयोग सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट पारित भएसँगै कांग्रेसले यसबारेको भ्रम चिर्न पुस्तक प्रकाशन गरेर कार्यकर्तालाई दिन लागेको हो । एमसीसीविरुद्ध नागरिकहरुमा नकारात्मक धारणाको विकास गरिएको भन्दै त्यस्तो भ्रम चिर्नु पर्ने कांग्रेसले बताएको छ । एमसीसी विशुद्ध अनुदान सम्झौता भएको र यसले देशको विकासमा टेवा पुग्ने कांग्रेसले बताउँदै आएको छ । कांग्रेसले आफ्नो दस्तावेजमा ३० वटा भ्रम र त्यसबारेको यथार्थ समेटेको छ । केन्द्रीय कार्यालयले दस्तावेज छपाई गरी ७७ वटै जिल्लामा खटिएका केन्द्रीय नेताहरूमार्फत् वडा–वडासम्म पुर्‍याउने र त्यसबारे फैलाइएका भ्रम चिर्ने बताएको छ ।
राप्रपाले गठन गर्‍यो भूतपूर्व सैनिकहरुलाई समेटेर संगठन काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी -राप्रपा_ले भूतपूर्व सैनिक कर्मचारीहरुको संगठन बनाएको छ । भूतपूर्व सैनिक कर्मचारीहरुलाई समेटेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमबाट राप्रपाले भूतपूर्व सैनिक परिषद्को घोषणा गरेको हो । परिषद्‌ घोषणा सभालाई सम्बोधन गर्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले ०६२/६३ पछि तय गरिएको राजनीतिक मार्गचित्र पूर्ण रूपले असफल भएकाले देशभक्त राष्ट्रवादी शक्तिको तागतबाट कोर्स करेक्सन गरिनुपर्ने बताए। लिङ्देनले देशमा भ्रष्टाचार, बेथितिदेखि जनजीवन असामान्य र विकराल बन्दै गएकाले देशमा यथास्थितिमा परिवर्तनको आवश्यकता औंल्याएका छन् । नेपाली सेनामा काम गरेका राष्ट्रसेवकहरू देशभक्त राष्ट्रवादी भावनाले ओतप्रोत हुने र सेवाबाट निवृत्त भएपछि राष्ट्र निर्माणमा योगदान दिनुपर्ने लिङ्देनले बताएका छन् । लिङ्देनले ठूला राजनीतिक दलका गलत क्रियाकलाप र अकर्मण्यताले देशको विकास, समृद्धि र जनचाहना ओझेलमा पर्दै गएकाले अब देशभक्त नागरिक एकजुट भई तागत निर्माण गर्नुपर्ने बताएका छन् । ‘राप्रपा शान्तिपूर्ण देशभक्तिको आन्दोलनमा अनवरत क्रियाशील भइरहेको छ,’ लिङ्देनले भने, ‘प्रजातान्त्रिक बाटोबाट देशमा परिवर्तन सम्भव छ । आसन्न स्थानीय तहको निर्वाचनलाई आन्दोलनको रुपमा उपयोग गरौं ।’ राप्रपाले भूतपूर्व सैनिकको संगठनको रुपमा अवकाश प्राप्त महासेनानी प्रकाश जङ्ग कार्कीको अध्यक्षतामा भूतपूर्व सैनिक परिषद् (राप्रपा)को १०१ सदस्यीय कार्य समिति घोषणा गरेको छ । परिषद्को सहअध्यक्षमा डिबी थापा, सातवटा प्रदेशको प्रतिनिधित्व रहने गरी उपाध्यक्ष तथा इन्चार्जहरू, प्रदेश १ मा चन्द्रप्रसाद चापागाईं, मधेस प्रदेशमा रामबहादुर थापा, बागमती प्रदेशमा लवराज थापा मगर, गण्डकी प्रदेशमा रामकाजी राना मगर, लुम्बिनी प्रदेशमा ईश्वरीप्रसाद पाण्डे, सुदूरपश्चिम प्रदेशमा ईश्वर थापा छन् । यसैगरी सचिवमा केवेन्द्र जङ्ग गुरुङ, सानुराम कटवाल, सुवर्ण रोक्का, तानास शर्मा, रामबहादुर कार्की र कोषाध्यक्षमा विष्णुबहादुर गिरी छन् ।
आज मध्यरातदेखि संसद्को अधिवेशन अन्त्य गर्न सिफारिस सरकारकाे सिफारिसमा राष्ट्रपतिले संसदकाे अधिवेशन अन्त्य गर्ने स‌ंवैधानिक व्यवस्था छ । हालै संसद् बैठकले अमेरिकी सहयोग परियोजना (एमसीसी) अनुमाेदन गरेको थियो ।
नेपाली बजारमा पेट्रोलको मूल्य ह्वात्तै घट्ने संकेत, रुससँग सस्तोमा तेल किन्न भारत तयार काठमाडौं। युक्रेनमा आक्रमणका कारण युरोपेली संघले रुसबाट तेल र ग्यास आयातमा कटौती गर्ने निर्णय गरेको छ । बेलायतले पनि यो वर्षको अन्त्यसम्म रुसी तेलबाट छुटकारा पाउने फैसला गरेको छ । अमेरिकाले पनि रुसबाट आयात गरिने तेल र ग्यासमा प्रतिबन्ध लगाएको छ । युद्धको अवस्थामा यी देशहरुको निर्णयले रुसलाई ठूलो आर्थिक क्षति भएको छ । यो नोक्सानीको भर्पाइको लागि रुसले भारतीय बजार रोजेको छ । रुसले भारतले उसको तेल किनोस् र आगामी दिनमा लगानी बढाओस् भन्ने चाहन्छ । यस सम्बन्धमा १० मार्चमा रुसका उपप्रधानमन्त्री अलेक्जेण्डर नोभाकले भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री हरदीप पुरीसँग छलफल गरेका छन् । यो छलफलपछि रुसले एउटा बयान जारी गरेको छ । रुसले जारी गरेको बयानमा भारतले रुसबाट वार्षिक १ अर्ब डलरको पेट्रोलियम आयात गर्ने र आगामी दिनमा यसमा वृद्धि हुने सम्भावना रहेको उल्लेख छ । केही दिनअघि रुसका तेल कम्पनीहरुले भारतको सरकारी कम्पनी इण्डियन आयल कर्पोरेसनलाई कच्चा तेल पुरानो मूल्यमा समेत २५ देखि २७ प्रतिशतसम्म छुटमा उपलब्ध गराउने प्रस्ताव गरेका थिए । रुसको तर्फबाट यस्तो प्रस्ताव आएपछि अहिले भारतले रुसबाट कच्चा तेलसहित अन्य उत्पादनहरु सस्तो मूल्यमा आयात गर्ने तयारी गरिरहेको भारतीय अधिकारीहरुलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाएको छ । भारतले आधिकारिक रुपमा यसबारे केही बताइसकेको छैन । भारतले रुसबाट सस्तो मूल्यमा कच्चा तेल ल्याउँदा यसको सीधा असर नेपाली बजारमा पर्नेछ किनकि नेपालले भारतको इण्डियन आयल कर्पोरेशनबाट प्रशोधित तेल किन्छ । नेपालले कच्चा तेल किनेर प्रशोधन गर्दैन । इण्डियन आयलले कच्चा तेल किनेर प्रशोधन गरेपछि त्यो प्रशोधित तेल नेपालले किन्ने गरेको छ । इण्डियन आयलले भारी छुटमा तेल किनेर सस्तो मूल्यमा आफ्नो बजारमा बिक्री गर्दा नेपालले पनि सस्तो मूल्यमा तेल पाउने सम्भावना उच्च हुन्छ किनकि इण्डियन आयलको बजारमा नेपाल पनि पर्छ । अहिले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य भारी वृद्धि हुँदा त्यसको असरले नेपाली बजारमा पनि तेलको मूल्य बढिरहेको छ । भारतले रुससँग कच्चा तेल सस्तोमा किन्नको लागि अग्रसर भएको भए पनि यहाँ केही प्रश्नहरु भने छन् । अमेरिकाले रुसलाई प्रतिबन्ध लगाएको अवस्थामा भारतले रुसबाट कति थप तेल किन्न सक्छ र यसको मूल्य कतिसम्म घट्न सक्छ भन्ने प्रश्न प्रमुख हो । ऊर्जा षेत्रका जानकारहरुका अनुसार विश्वमा आपूर्ति हुने तेलको १२ प्रतिशत रुसमा, १२ प्रतिशत साउदी अरबमा र १६ देखि १८ प्रतिशत अमेरिकामा उत्पादन हुन्छ । भारतले आफ्नो बजारमा खपत हुने तेलको ८५ प्रतिशत विदेशबाट आयात गर्छ र आयात गरिने तेलको ६० प्रतिशत खाडी देशहरुसँग किन्छ । तेल आयातका लागि अहिलेसम्म भारत साउदी अरब र अमेरिकामा धेरै निर्भर छ । यसका अलावा भारतले इराक, इरान, ओमन, कुवेत र रुससँग पनि तेल किन्छ । यसबाहेक केही तेल स्पट मार्केट अर्थात खुला बजारबाट पनि किन्छ । अहिलेसम्म भारतले रुसबाट आफूलाई आवश्यक पर्ने तेलको २ प्रतिशत मात्र किन्छ । यहाँनिर अर्को एउटा प्रश्न पनि छ – रुसले युरोपको अधिकांश तेल आवश्यकताको पूर्ति गर्छ भने भारत रुसको मित्र देश भएर पनि भारतले यति कम मात्रै तेल किन किन्छ ? ऊर्जा विशेषज्ञ नरेन्द्र तनेजा भन्छन् ‘यसको जवाफ केही हदसम्म रुसको भौगोलिक स्थितिमा लुकेको छ । रुसको तेल उत्पादन हुने क्षेत्र पूर्वी इलाकाबाट केही टाढा छ । उत्तरबाट तेल ल्याउन समस्या यो छ कि त्यो क्षेत्र आर्कटिक क्षेत्र नजिक छ जहाँ धेरैजसो समय हिउँ जमेको हुन्छ । तेस्रो बाटो ब्ल्याक सीको बाटो हो जुन यतिबेला (युद्धका कारण) अवरुद्ध छ ।’ पछिल्लो १० वर्षमा भारतले तेल आयातमा कुनै एक देशमा निर्भरता अन्त्य गर्नको लागि कैयौं अरु देशबाट तेल किन्न सुरु गरेको छ । यी थपिएका देश अमेरिका र रुस पनि हुन् । नरेन्द्र तनेजा अगाडि भन्छन् ‘रुसमा भारतले तेल र प्राकृतिक ग्यासको क्षेत्रमा १६ अर्ब डलर लगानी गरेको छ तर त्यो तेल भारतले आफूले किन्दैन, अन्य देशहरुलाई बेचिदिन्छ ।’ अहिलेको समयमा रुससँग तेल नकिनेका कारण पनि विश्व बजारमा तेलको मूल्य आकाशिएको छ । यस्तोमा रुस भारतलाई कम मूल्यमा तेल बेच्न तयार हुने मानिएको छ । अहिले रुसबाट तेल किन्न अमेरिकामा मात्र प्रतिबन्ध छ त्यसैले भारतले रुसको तेल किन्न सक्छ । तर, त्यहाँबाट तेल ल्याउन र त्यसको भुक्तानी गर्न भने समस्या छ । यसको समाधानका लागि भारतीय बैंकहरुले भारतीय रुपैयाँ र रुसी रुबलमा कारोबार गर्न सुझाव दिएका छन् । भारतले यसअघि भारतले इरानमाथि प्रतिबन्ध लागेका बेला पनि आ–आफ्नो मुद्रामा कारोबार गरेको थियो ।
अब केवलकार चढेर सराङकोटबाट ‘सनराइज’ हेर्न सकिने पोखरा। पाेखरामा बनेको अन्नपूर्ण केवलकार अबदेखि बिहान ५ बजेदेखि सञ्चालनमा ‍‌‌अ‌ाउनले भएकाे छ। १ चैत १ देखि सराङकोटबाट ‘सनराईज’ हेर्ने पर्यटकलाई लक्षित गरेर बिहानैदेखि सञ्चालन गर्न लागिएको हो। पोखरा–१८, सेदीदेखि सराङकोट जोड्ने केवलकार फागुन पहिलो सातादेखि नियमित सञ्चालनमा आउने भएकाे हाे। सुर्योदय र सुर्यास्तको अवलोकन गर्न सकिने गरी सञ्चालनकाे तयारी थालिएको महाप्रबन्धक दिनेश पौड्यालले जानकारी दिए। ‘सराङकोटको विशेषता भनेकै सुर्योदय हो। धेरै पर्यटकहरु सनराईज हेर्न बिहानै सराङकोट पुग्छन्,’ पौड्यालले भने, ‘पर्यटककै आग्रहमा हामीले सेवा बिस्तार गरेका हौं।’ सेदीदेखि केवलकारमा चढेर १० मिनेटमा सराङकोट पुगिन्छ। प्रति गण्डोला ८ जना यात्रु बस्न मिल्ने गरी १७ गण्डोला जोडिएको छ। परियोजना २ अर्ब लागतमा निर्माण भएको हो। सुरुमा एक अर्ब ३० करोडको लागत अनुमान गरिएपनि कोभिड-१९ का कारण निर्माण समय र लगानी बढेको हो। केवलकार चढ्ने यात्रुले नेपाली भए ७ सय, सार्क राष्ट्रका पर्यटकले ८ सय र न्य मुलुकका नागरिकले ९ अमेरिकी डलर भाडा तिर्नुपर्छ। जेष्ठ नागरिक र अपांगता भएकाले ५० प्रतिशत र विद्यार्थीले २५ प्रतिशत छुट पाउने कम्पनीले जनाएको छ। कम्पनीमा स्थानीयवासीबाट २५ प्रतिशत र विभिन्न व्यवसायीबाट ७५ प्रतिशत लगानी गरिएको छ।
उत्कृष्ट १० तस्वीरलाई रु १०\१० हजार नगद प्रदान गरिने काठमाडौं । साँस्कृतिक संस्थानले देशका मौलिक वेषभूषा, गरगहना, जीवनशैली, रहनसहन, रीतिरिवाज, संस्कार, चाडपर्व, जात्रा, जातीय एवं साँस्कृतिक महत्वका विभिन्न तस्वीर समेटेर ‘साँस्कृतिक तस्वीर पुस्तक’ प्रकाशन गर्न लागेको छ । संस्थान स्थापनाको स्वर्ण महोत्सव (असार ५) का अवसरमा प्रकाशन गरिन लागेको पुस्तक नेपालको ‘विशेष चिनो’ का रूपमा रहने अपेक्षा गरिएको महाप्रबन्धक अशोककुमार राईले बताए। संस्थानले स्थापनाकालदेखि नै नाटक, गीत, सङ्गीत, बाध्यवादन, नृत्यका साथै समग्र नेपाली लोकसंस्कृतिको संस्थागत विकास, संरक्षण, सम्वद्र्धन एवं दस्तावेजीकरण गर्दै आएको छ । प्रतियोगिताका आधारमा पुस्तकमा समेटिने ३०० तस्वीरमध्ये उत्कृष्ट १० तस्वीर प्रत्येकलाई रु १०\१० हजार नगद प्रदान गरिनेछ । संस्थानद्वारा आज आयोजित पत्रकार सम्मेलनमा पुस्तकका लागि तस्वीर उपलब्ध गराउन महाप्रबन्धक राईले व्यावसायिक फोटोग्राफरसहित समाजका सबै तह र तप्कालाई आह्वान गरे । संस्थानले पुस्तकका लागि तस्वीर छनोट गर्न नेपाली फोकलोर सोसाइटीका अध्यक्ष एवं प्राध्यापक तुलसी दिवस, राष्ट्रिय फोटो पत्रकार समूहका पूर्वअध्यक्ष राजभाई सुवाल र वरिष्ठ फोटो पत्रकार विकास कार्की सम्मिलित निर्णायक मण्डलसमेत गठन गरेको छ । संस्थानले प्रतियोगितामा सहभागी हुन इच्छुकलाई आगामी चैत २५ गतेभित्र तस्वीर पठाउन अनुरोध गरेको छ । सम्मेलनमा निर्णायक मण्डलका संयोजक संस्कृतिविद् दिवसले नेपाल विश्वमै लोक संस्कृतिका हिसाबले जीवित सङ्ग्रहालय भएको बताए। उनले भने, “विश्वमान चित्रमा नेपाल भौगोलिकरूपले सानो भए पनि साँस्कृतिक हिसाबले वैभव छ, नेपालको विविधता झल्कने वेषभूषा, रहनसहन, पहिरन, खाना, नृत्यजस्ता प्रदर्शनकारी लोक, संस्कृतिको ठूलो अर्थ र महत्व राख्छ ।”
नेपालका कम्युनिष्ट पार्टी अमेरिकी साम्राज्यवादीका दलाली बनेः मोहन वैद्य काठमाडौं । मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले नेपालका कम्युनिष्ट पार्टी अमेरिकी साम्राज्यवादीका दलाली बनेको आरोप लगाएको छ । २५-२९ फागुनसम्म चलेको क्रान्तिकारी माओवादीको केन्द्रीय समितिको बैठकले माओवादी केन्द्र, एकीकृत समाजवादी, एमाले लगायतका राजनीतिक दलहरूद्वारा अमेरिकी साम्राज्यवादको चरम दलाली बनेको आरोप लगाएको छ । बैठकको निर्णय सार्वजनिक गर्न सोमबार महासचिव किरणले जारी गरेको विज्ञप्तिमा कम्युनिष्ट पार्टीको भण्डाफोर गर्ने भन्दै उल्लेख गरिएको छ, ‘कम्युनिस्ट नामधारी माके, एकीकृत समाजवादी, एमाले लगायतका राजनीतिक दलहरूद्वारा अमेरिकी साम्राज्यवादको चरम दलाली तथा राष्ट्रिय गद्दारी गरिएको स्थितिमा तिनको अझै भण्डाफोर गर्न अति जरुरी भएको छ ।’
साउदी अरबका राजकुमार भोलि नेपाल आउने काठमाडौं । साउदी अरबका परराष्ट्रमन्त्री भोलि नेपाल आउने भएका छन्। परराष्ट्र मन्त्री डाक्टर नारायण खड्काको निमन्त्रणामा साउदी अरबका परराष्ट्रमन्त्री तथा राजकुमार फैसल विन फरहान अल साउद दुई दिने नेपाल भ्रमणका लागि आउन लागेका हुन् । भ्रमणका क्रममा साउदी अरबका विदेशमन्त्री राजकुमार फैसलले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग बेग्लाबेग्लै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री खड्काले आफ्ना साउदी समकक्षीसँग चैत १ गते बैठक गर्ने तथा उनले नेतृत्व गरेको प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्ने मन्त्रालयले जनाएको छ ।
रूसका १२ हजार सैनिक मारिए किभ (बीबीसी) । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले युक्रेनमाथि आक्रमण गरेपछि अहिलेसम्म १,३०० युक्रेनी सैनिक र झन्डै १२,००० रुसी सैनिकको मृत्यु भएको दाबी गरेका छन्। एउटा पत्रकार सम्मेलनमा बोल्दै उनले शुक्रवारसम्म झन्डै ५०० देखि ६०० रुसी सैनिकले युक्रेनमा आत्मसमर्पण गरेको बताएका छन्। तर बीबीसीले त्यस्तो दाबीको स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन। जेलेन्स्कीले युद्धमा ज्यान गुमाउने रुसी सैनिकको सङ्ख्या ठूलो भएको भए पनि आफू त्यसप्रति खुसी नभएको बताए। “उनीहरूले [अनुमानित] १२,००० जना गुमाउँदा मलाई प्रसन्नता छैन, यसले मलाई खुसी बनाउँदैन… संसारलाई हेर्ने मेरो दृष्टिकोण त्यस्तो छैन,” उनले भने। रुसले युक्रेनमा आक्रमण गरेको १७ दिन भइसकेको छ। अठारौँ दिन बिहान विभिन्न सहरहरूमा विस्फोटन भइरहेको विवरण प्राप्त भएको छ। कति सैनिकको मृत्यु भएको हुनसक्छ? केही दिनअघि अमेरिकाले दुई साताको अवधिमा झन्डै ५,००० देखि ६,००० रुसी सैनिकको मृत्यु भएको अनुमान गरेको थियो। बीबीसीको अमेरिकास्थित साझेदार सीबीएस न्यूजका अनुसार अमेरिकी अधिकारीहरूले त्यस्तो आकलन गरेका हुन्। मृतकको अनुमानित सङ्ख्याका आधारमा घाइते हुने सैनिकको सङ्ख्या १५,००० देखि १८,००० भएको बताइएको थियो। प्रायः युद्धमा घाइते सैनिकको सङ्ख्या मृतकको सङ्ख्याभन्दा तीनगुना हुने गर्छ। नाम उल्लेख गर्न नचाहने एक अमेरिकी अधिकारीले हताहत हुने रुसी सैनिकको अनुमानित सङ्ख्याले रुसले ठूलो क्षति बेहोर्नुपरेको देखिएको बताएका थिए। उनले सैनिकहरूको मृत्युदरलाई दोस्रो विश्वयुद्धका केही सङ्घर्षसँग तुलना गरेका थिए। तर युद्धका बेला दुवै पक्षले आफूअनुकूल प्रचार गर्ने हुँदा त्यस्ता दाबीहरू पुष्टि गर्न गाह्रो हुन्छ। के छ अहिलेको स्थिति? रुसले आक्रमण गरेको सत्रौँ दिन शनिवार आक्रमण भइरहँदा गैरसैनिक युक्रेनी नागरिकहरूले रुसी घेराबन्दीमा परेका सहरहरूबाट सुरक्षित ठाउँमा जाने प्रयास जारी राखे भने राजधानी किएभका बाह्य भागहरूमा सघन सङ्घर्ष जारी रह्यो। शनिवारसम्म रुसी सेना राजधानीबाट २५ किलोमिटर नजिक पुगिसकेको छ। ठूलो आक्रमणमा परेका स्थानबाट सर्वसाधारणलाई निकाल्न केही निकासमार्ग प्रस्तावित गरिएको थियो। तीमध्ये दक्षिणी बन्दरगाह साहर मारिऊपोल, रुसी सीमासँग नजिकै रहेको सुमी तथा किएभबाहिर रहेका नगर र गाउँहरू छन्। रुसीले सेनाले मारिऊपोलको पूर्वपट्टि सहरको बाहिरी भाग कब्जा गरेको छ। एक निजी अमेरिकी कम्पनीले शनिवार भूउपग्रहमार्फत् खिचेका तस्बिरहरूले सहरमा आवासीय र नागरिक पूर्वाधारमा व्यापक क्षति भएको पुष्टि गर्छ। त्यहाँ रुसी घेराबन्दी जारी छ र सहरमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ। युक्रेनी अधिकारीहरूका अनुसार युक्रेनी सेनाले नजिकैको सानो सहर भोल्नोभाखा छोडेको छ। उनीहरूका अनुसार उक्त सहर पूर्ण रूपमा ध्वस्त भएको छ। कब्जा गरिएको अर्को सहर मेलिटोपोलमा रुसी सेनाले नगरप्रमुखको “अपहरण”विरुद्ध सर्वसाधारण नागरिकहरूले गरेको ठूलो विरोध प्रदर्शन सामना गर्नुपर्‍यो। राष्ट्रपति जेलेन्स्कीले नगरप्रमुखको अपहरणलाई “युद्ध अपराध”को सङ्ज्ञा दिएका छन्। रुसी सेनाले किएभनजिकै अवस्थित एउटा गाउँबाट बाहिर जान लागेका महिला र बालबालिकासहितको समूहमाथि गोली चलाएको युक्रेनी अधिकारीहरूको दाबी छ। ‍उक्त आक्रमणमा परी सात जनाको मृत्यु भएको बताइएको छ। मस्कोले भने उक्त आरोपबारे अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन। रुसी सेनाले त्यहाँ अर्का व्यक्तिलाई नगरप्रमुखको उत्तरदायित्व दिएको विवरण स्थानीय सञ्चारमाध्यममा आएको छ। पहिला नगरपरिषद्‌मा कार्यरत गलिना दानिल्चेन्कोले स्थानीय टीभीमा देखा पर्दै “नयाँ वास्तविकताअनुरूप आधारभूत संयन्त्र” निर्माण गर्नु आफ्नो प्रमुख कर्तव्य रहेको घोषणा गरेकी छन्। उनले उक्त नगर सञ्चालन गर्न आफू “जनताका सहायकहरू”को एउटा समिति बनाउने तयारीमा भएको बताउँदै नगरवासीहरूलाई “अतिवादी गतिविधि” मा सहभागी नहुन आग्रह गरिन्। बीबीसीले उनको नियुक्तिको विषय स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन। शरणार्थी सङ्कट रुसी आक्रमण सुरु भएपछि अहिलेसम्म युक्रेनबाट २५ लाख मानिस अन्यत्र गइसकेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ। तीमध्ये १६ लाखभन्दा बढी मानिस शरण खोज्दै पोल्यान्ड पुगेको पोल्यान्डका सीमा सुरक्षाकर्मीले बताएका छन्। युक्रेनबाट मल्डोभा पुग्ने शरणार्थीको सङ्ख्या २,७०,००० पुगेको छ। तीमध्ये १,००,००० जना त्यहीँ बसेको बताइएको छ। शरणार्थी आउने क्रम जारी रहेको बेला मल्डोभाका प्रधानमन्त्रीले अन्तर्रााष्ट्रिय सहयोगका लागि आग्रह गरेका छन्। संयुक्त राष्ट्रसङ्घका अनुसार अहिलेको यो शरणार्थी सङ्कट युरोपमा दोस्रो विश्वयुद्धपछि देखा परेको सबैभन्दा ठूलो हो। यूनिसेफका अनुसार शरणार्थीमध्ये आधाजति बालबालिका र कम उमेरका मानिस छन्। अमेरिकाको प्रतिक्रिया अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले युक्रेनमा रुसी आक्रमणले “युरोपभरिको प्रजातन्त्र र सुरक्षालाई जोखिममा पारेको” र “कुनै पनि ठाउँको प्रजातन्त्र जोखिममा पर्दा यसले हामी सबैलाई असर पार्ने” चेतावनी दिएकी छन्। ह्यारिसले शनिवार पोल्यान्ड र रुमेनीयाको भ्रमणबाट फर्किएपछि उक्त टिप्पणी गरेकी हुन्। बाइडन सरकारले युक्रेनलाई थप सहयोग गर्नु पर्ने दबावको सामना गरिरहेको छ। अमेरिकाले भने युक्रेनमा कुनै किसिमको उडान गर्न नपाइने “नो-फ्लाई जोन” लागु गरेर रुससँग प्रत्यक्ष द्वन्द्व ननिम्त्याउने कुरामा जोड दिँदै आएको छ। यद्यपि केही सर्वेक्षणहरूका अनुसार अमेरिकी जनताले युक्रेनका बारेमा चासो देखाइरहेका छन्। तिनमा ४५ प्रतिशतले युक्रेनमा “नो-फ्लाई जोन” लागु गर्ने विषयमा समर्थन जनाएका छन्। अमेरिकालाई रुसको चेतावनी रुसका उपविदेशमन्त्री सर्गेई र्‍याब्कोभले युक्रेनलाई अस्त्र आपूर्ति गर्ने पश्चिमा देशका वाहनहरूलाई रुसी सेनाले “निसाना” बनाउन सक्ने चेतावनी दिएका छन्। “हामीले अमेरिकालाई केही देशबाट युक्रेनमा अस्त्र पठाउने योजना केवल खतरनाक कदम मात्र नभएको बरु त्यस्तो कदमले ती वाहनहरूलाई रुसको वैधानिक निसाना बनाउन सक्ने चेतावनी दिएका छौँ,” उनले सरकारी टीभीमा बोल्दै भने। युक्रेनलाई हवाई प्रतिरक्षा प्रणाली र ट्याङ्कभेदक क्षेप्यास्त्र पठाइनु “दुस्साहस” भएको र अमेरिकाले रुसको चेतावनीलाई गम्भीरतापूर्वक लिनुपर्ने उनको भनाइ थियो।
ऐतिहासिक नेपाल-जापान सम्बन्धः नेपाली विद्यार्थी जापान पढ्न गएको १२० वर्ष पूरा काठमाडौं । सरकारीस्तरमै उच्च शिक्षाका लागि नेपाली विद्यार्थी जापान गएको १२० वर्ष पूरा भएको छ । राणाकालीन सुधारवादी प्रधानमन्त्री श्री ३ देवशम्शेरले आफ्नो छोटो कार्यकालमा आठ जना नेपाली विद्यार्थीलाई सरकारी खर्चमा विभिन्न विषयमा अध्ययनको लागि जापान पठाउने निर्णय गरेका थिए । त्यसपछिका प्रधानमन्त्री श्री ३ चन्द्र शम्शेरले ती विद्यार्थीलाई सन् १९०२ मार्च ८ मा भारत हुँदै जापान पठाएका थिए । आठ जना नेपाली विद्यार्थीलाई पढाइमा कुनै दुःख नहोस् भनेर उनीहरुको साथमा १७ जना सुसारे पनि जापान पठाइएको थियो । उनीहरुको गाइडका रुपमा स्वामी पुरानन्द गिरी पनि साथमा गएका थिए । यसरी पहिलोपटक जापानमा उच्च शिक्षा पढ्न जाने नेपाली विद्यार्थीहरुमा जंगनरसिंह राणा र भक्तबहादुर बस्न्यात हतियार इञ्जिनीयरिङ, देव नरसिंह राणा र बालनरसिंह रायमाझी खनिज, दीप नरसिंह राणा कृषि, हेमबहादुर राजभण्डारी मेकानिकल इञ्जिनिरिङ, रुद्रलाल सिंह व्यावहारिक रसायनशास्त्र र विचारमान सिंह सेरामिक्स (माटोको भाँडा, पछि रेशम खेती) बारे थिए । नेपाली विद्यार्थी जापानमा उच्च शिक्षा पढ्न जान थालेको १२० वर्ष पुगेको अवसरमा जापानमा उच्च शिक्षा पढेर फर्केका नेपाली विद्यार्थीहरुको संस्था ‘जुआन’ले आज राजधानीमा अन्तरक्रियाको आयोजना ग¥यो । कार्यक्रममा नेपालका लागि जापानी राजदूत युताका किकुताले नेपाल र जापानबीचको सम्बन्ध ऐतिहासिक रहेको उल्लेख गर्दै कोरोना महामारीका कारण विगत दुई वर्षदेखि जापानमा पढ्न जान नपाएका नेपाली विद्यार्थीहरुका लागि सोमबार १४ मार्चदेखि राजदूतावासले सहज बनाउने बताए । पछिल्लो समय नेपाली युवा विद्यार्थीहरु अध्ययनको लागि जापानमा आर्कषित हुन थालेको राजदूत किकुताको भनाई थियो । सन् १९६० मा जापानमा उच्च शिक्षा अध्ययन गरेर नेपाल फर्केका तत्कालीन ‘जुसान’ का पूर्वअध्यक्ष हरेन्द्र वरुवाले नेपाली विद्यार्थी जापान गएर पढ्न थालेको इतिहासबारे जानकारी गराएका थिए । त्यतिखेर नेपाली विद्यार्थीले जापानबाट उच्च शिक्षाको साथै जापानी कला संस्कृति र आफ्नो राष्ट्रियताको सम्मान गर्ने शैली पनि सिकेर फर्केको उनले उल्लेख गरे । दोस्रो विश्वयुद्धपछि जापान आधुनिकीकरण भएको तर आफ्नो परम्परा र संस्कृतिलाई भने जीवित राख्न सफल भएको वरुवाले बताए । जुआनका अध्यक्ष डा. प्रवीण श्रेष्ठ, जापान वैदेशिक सहयोग नियोग ‘जाइका’ का प्रमुख प्रतिनिधि आकिमिचु ओकुबो, जुआनका उपाध्यक्ष डा खड्ग केसी, महासचिव डा जीवन भट्टराई, जानका अध्यक्ष डा रामचन्द्र भुषाल, ओट्सका अध्यक्ष प्रशन्नलाल श्रेष्ठ, जाल्टानका अध्यक्ष मनिष श्रेष्ठ, फुलब्राइटका अध्यक्ष किर्तिविलाश जोशी, ब्रिटिस एलुम्नाईका अध्यक्ष डा उत्तमबाबु पन्त, आनाका अध्यक्ष अनन्त पौडेल, राईसनका अध्यक्ष डा ताराप्रसाद सापकोटा, जुआनका पूर्वअध्यक्ष डा दिनेशराज भुजु, अशोक शम्शेर राणालगायतले नेपाल जापान सम्वन्धका बारेमा चर्चा गरेका थिए । कार्यक्रममा नेपाल राष्ट्र बैंकको पहिलो वैदेशिक खाता जापानमा खोल्न विशेष योगदान गरेका नेपाल राष्ट्र बैंकका पहिलो गर्भनर हिमालय शम्शेर राणालाई जुआन संस्थाको संरक्षकमा मनोनित गरेको घोषणा गरियो । जुआनका संस्थापक अध्यक्ष इलेक्ट्रिकल इञ्जियीर पद्मसुन्दर मल्ल छन् र उनले सन् १९१६ मा जापानमा अध्ययन गरेका थिए ।
प्रेस चौतारी नेपालको महाधिवेशनमा एघार पत्रकार सम्मानित पोखरा । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट विभिन्न ११ जनालाई सम्मान गरेका छन् । प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय महाधिवेशनको आज पोखरा सभागृहमा भएको उद्घाटन समारोहमा उहाँले नगदसहित दोसल्ला र सम्मानपत्रले सम्मान गरेका हुन्। सो अवसरमा हृदयचन्द्रसिंह प्रधान पत्रकारिता पुरस्कार–२०७७ बाट सङ्गठनका पूर्वअध्यक्ष राजेन्द्र अर्याल र २०७८ बाट पूर्वअध्यक्ष गगन विष्ट सम्मानित भएका थिए । त्यस्तै संस्थाद्वारा सञ्चालित अग्निशिखा पत्रकारिता पुरस्कार–२०७७ बाट कृष्णविनोद लम्साल र ०७८ बाट राजनीतिक विश्लेषक तथा पत्रकार झलक सुवेदीलाई प्रदान गरियो । डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार–२०७७ र ०७८ बाट क्रमशः सागर पण्डित र हिरा परियार, वीरेन्द्र साह क्रियाशील पत्रकारिता पुरस्कार केपी गौतम र अनुप तिवारी, चन्द्र न्यौपाने शान्तिराम कार्की पत्रकारिता पुरस्कारबाट शान्ति गुरुङलाई सम्मान गरियो । त्यस्तै पदमलक्ष्मी–सावित्री स्मृति पत्रकारिता पुरस्कारबाट अब्दुलाह मियाँ र शिवराज भट्टलाई प्रदान गरिएको महाधिवेशन मूल आयोजक समितिका संयोजक एवं प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष गणेश पाण्डेले जानकारी दिए ।
पर्यटन मन्त्री आलेद्वारा उपचारका लागि आर्थिक सहयोग प्रदान काठमाडौ. । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले लामो समयदेखि खुट्टाको समस्या भएर उपचार गर्न नसकेका डोटीको दिपायल सिलगढी नगरपालिका–९ कलेनाका ४८ वर्षीय इन्द्रबहादुर साउदलाई उपचारका लागि आर्थिक सहयोग प्रदान गरेका छन् । आज शुक्रबार मन्त्रालयमा उपचारका लागि सहयोगको अपेक्षासहित आउनुभएका साउदलाई मन्त्री आलेले आफ्नो व्यक्तिगत तर्फबाट रु १५ हजार प्रदान गरेका हुन्। साउदको करिब १२ वर्ष पहिले दायाँ खुट्टामा चोट लागेको र अहिले आएर उक्त चोटकै कारण दाहिने खुट्टामा एक्टीनो माइकोसिस (ढुसी) नामक सङ्क्रमण देखिएको र खुट्टानै काट्नुपर्ने अवस्था देखिएको राष्ट्रिय ट्रमा सेन्टरका चिकिसकले जानकारी दिएपछि साउद उपचारका लागि आर्थिक सहयोग माग्न मन्त्रालय पुगेका थिए । मन्त्री आलेले हाललाई परीक्षणका लागि भन्दै उपचार सहयोग दिनुभएको र उहाँको थप उपचारका लागि आफूले पहल गर्ने बचनबद्धता व्यक्त गरेको मन्त्री आलेको स्वकीय सचिवालयले जनाएको छ ।
नेपाल बारको अध्यक्षमा आठ जनाको उम्मेदवारी काठमाडौं। नेपाल बार एशोसिएसनको नयाँ नेतृत्वका लागि अध्यक्षमा आठ जनाले उम्मेदवारी दिएका छन् । अध्यक्षका लागि वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे, वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारी, वरिष्ठ अधिवक्ता अमिता लक्ष्मी सैँजु श्रेष्ठ, अधिवक्ता उद्धवचन्द्र घिमिरे, उत्तमबहादुर श्रेष्ठ, अनिता जधारी, कमलप्रसाद मलेंगो र पृथ्वीनाथ राईले उम्मेदवारी दिएको प्रमुख निर्वाचन अधिकृत उषा मल्ल पाठकले जानकारी दिईन्। यस्तै महासचिवमा छ जनाले उम्मेदवारी दिएका छन् । महासचिवमा राधेश्याम सुवास, केदारप्रसाद कोइराला, त्रिलोकबहादुर चन्द, उमेश प्रसाद, अञ्जिता खनाल र इन्द्रबहादुर अधिकारीले उम्मेदवारी दिएका छन् । कोषाध्यक्षमा जगतबहादुर कार्की र गोविन्दराज उपाध्यायले उम्मेदवारी दिएका छन्। आगामी चैत १९ गते हुने निर्वाचनका लागि २५ पदमा ७५ जनाको उम्मेदवारी परेको छ ।
के चीनले रूसलाई सहयोग गर्न सक्छ ? मस्को (बीबीसी) । रुसले युक्रेनमा आक्रमण गरेपछि उसलाई एक्लो पार्न अमेरिका, ईयू र ब्रिटेनले जस्तै प्रतिबन्धहरू लागु गर्नका निम्ति अस्ट्रेलियाले चीनलाई आग्रह गरेको छ। प्रधानमन्त्री स्कट मरिसनले रुसबाट थप गहुँ किन्न चीनले गरेको हालैको सम्झौताको आलोचना गरेका छन्। उनले त्यसले रुसलाई “आर्थिक जीवन” दिने बताए। त्यसो भए चीनले रुसलाई आर्थिक रूपमा कत्तिको सहयोग गर्न सक्छ त? रुसमाथिको प्रतिबन्धले व्यापारलाई असर गर्छ? चीनले रुससँग “सामान्य व्यापार सहकार्य जारी राख्ने” बताएको छ। तर केही रुसी ब्याङ्कहरूलाई स्विफ्ट अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीबाट प्रतिबन्धित गरिएको छ। यो विश्वभरि वित्तीय भुक्तानीका लागि लागि प्रयोग गरिन्छ। प्रतिबन्धले निर्यातका लागि भुक्तानी गर्न अझ गाह्रो हुने सम्भावना छ। व्यापारीहरूले वित्तीय व्यवस्थापन गर्न सङ्घर्ष गर्नु परेपछि चीनले हालै रुसबाट गर्ने आफ्ना केही खरिदलाई कटौती गर्नुपरेको छ। पछिल्ला वर्षहरूमा दुवै देशले स्विफ्टजस्ता डलरमा आधारित प्रणालीमा उनीहरूको निर्भरतालाई न्यून गर्न आफ्नै वैकल्पिक भुक्तानी प्रणालीहरू विकास गर्ने प्रयास गरिरहेका छन्। रुससँग वित्तीय सन्देशहरू पठाउने प्रणाली (एसटीएफएम) छ भने चीनसँग अन्तरसीमा अन्तरब्याङ्क भुक्तानी प्रणाली (सीआईपीएस) छ। ती दुवै प्रणाली आफ्नै मुद्रामा सञ्चालन हुन्छन्। कार्नजी मस्को सेन्टरले प्रकाशित गरेको एउटा अध्ययनले ती भुक्तानी प्रणालीहरू “स्विफ्टको विकल्प नभएको” भन्ने तर्क गरेको छ। सन् २०२१ सम्म एउटा मात्र चिनियाँ ब्याङ्क एसटीएफएममा सामेल भएको थियो। यद्यपि धेरै रुसी ब्याङ्क र विश्वव्यापी वित्तीय संस्थाहरू चिनियाँ प्रणालीमा जोडिएका छन्। हाल रुस र चीनबीच हुने व्यापारको लगभग १७ प्रतिशतमा मात्रै चिनियाँ युआनको प्रयोग हुन्छ। त्यो सन् २०१४ मा ३.१ प्रतिशत मात्र थियो। यो आधिकारिक रुसी तथ्याङ्कलाई उद्धृत गर्दै सञ्चारमाध्यममा आएका खबरहरूमा आधारित विवरण हो। युआनको प्रयोग बढिरहेको भए पनि उनीहरूबीचको ऊर्जा व्यापार धेरैजसो अझै पनि अमेरिकी डलरमा हुने गर्छ। रुसले चीनसँग कति व्यापार गर्छ? पछिल्ला वर्षहरूमा यी दुई देश बीचको व्यापार लगातार बढ्दै गएको छ। गत वर्ष नयाँ उचाइमा पुग्दै यी दुई देशबीच लगभग १४७ अर्ब डलरको व्यापार भयो। त्यो अघिल्लो वर्षको तुलनामा लगभग ३६ प्रतिशत र सन् २०२१ मा रुसको समग्र व्यापारको लगभग १८ प्रतिशत हो। गत महिना राष्ट्रपति पुटिनको बेइजिङ भ्रमणका क्रममा दुवै देशले सन् २०२४ सम्ममा आफ्नो व्यापार २५० अर्ब डलरमा पुर्‍याउने बताएका थिए। चिनियाँ भन्सार अधिकारीहरूले युक्रेनमाथि आक्रमण सुरु भएको दिनदेखि रुसी गहुँ र जौ आयातमा लगाइएका सबै प्रतिबन्धहरू हटाउने घोषणा गरेका थिए। चीनले पहिले रोगको चिन्ताका कारण रूसका केही क्षेत्रहरूबाट गहुँ आयातमा प्रतिबन्ध लगाउने गरेको थियो। गत वर्ष चीन गहुँको विश्वको चौथो ठूलो खरिदकर्ता र जौको सबैभन्दा ठूलो खरिदकर्ता रहेको थियो। रुस दुवै अन्न बालीको धेरै उत्पादन गर्ने देश हो। हाल कृषि उत्पादन बाहेक तेल, ग्यास र कोइला रुसी वस्तु निर्यातका लागि पनि चीन सबैभन्दा ठूलो एकल बजार हो। चीन रुसको सबैभन्दा ठूलो कोइला खरिदकर्ता हो र यी दुई देशहरू युक्रेनमा आक्रमण हुनुभन्दा एक साताअघि मात्र २० अर्ब डलर भन्दा बढीको नयाँ सम्झौतामा सहमत भएका थिए। यद्यपि एउटा क्षेत्रीय साझेदारका रूपमा ईयू रुसको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो। सन् २०२१ मा रुस र ईयू बीचको कुल व्यापार रुससँग चीनको व्यापारभन्दा झन्डै दोबर थियो। व्यापार अर्थशास्त्री डा. रेबिका हार्डिङका अनुसार त्यसमा अब परिवर्तन हुन थाल्नेछ। “प्रतिबन्धका कारण रुस-ईयू व्यापार कम हुनु अपरिहार्य छ। हालको सङ्कटले आपूर्ति विविधीकरणको आवश्यकतालाई ईयूभित्र बहसमा ल्याएको छ,” उनले भनिन्। रुसको अमेरिकासँगको व्यापार भने निकै कम छ। के चीनले थप रुसी इन्धन किन्न सक्छ? रुसको अर्थतन्त्र तेल र ग्यासको निर्यातमा धेरै निर्भर छ र पछिल्ला प्रतिबन्धहरूले अहिलेसम्म ती क्षेत्रहरूलाई लक्षित गरेका छैनन्। गत वर्ष रुस चीनको दोस्रो ठूलो तेल र तेस्रो ठूलो ग्यास आपूर्तिकर्ता थियो। सञ्चारमाध्यममा आएका खबरहरूका अनुसार गत वर्ष रुसले चीनमा ४१.१ अर्ब डलर बराबरको तेल र ४.३ अर्ब डलर बराबरको ग्यास आपूर्ति गरेको थियो। पुटिनले चीनसँग हालै अनुमानित ११७.५ अर्ब डलरको रुसी तेल र ग्यास निर्यातसम्बन्धी सम्झौता गरेका छन्। यद्यपि अझै पनि रुसी ऊर्जाको सबैभन्दा ठूलो बजार भनेको ईयू नै हो। रुसले अहिले पनि उक्त क्षेत्रमा आवश्यक पर्ने ४० प्रतिशत ग्यास र २६ प्रतिशत तेल आपूर्ति गर्छ। अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) को पछिल्लो विवरणअनुसार गत वर्ष तेलसहित रुसी निर्यातको २० प्रतिशत मात्र निर्यात चीनमा भएको थियो। “रुसबाट तेल र ग्यासको निर्यात [चीनमा] पछिल्ला पाँच वर्षमा वार्षिक ९ प्रतिशतभन्दा बढी दरले बढ्दै गएको छ। यो तीव्र वृद्धि हो तर पनि चीन रुसी तेलका लागि ईयूभन्दा आधाजतिको मात्र बजार हो” हार्डिङले भनिन्। एउटा विश्लेषण अनुसार रुस र चीनबीच सहमति भएको नयाँ पाइपलाइन द पावर अफ साइबेरिया टूमार्फत् हुने आपूर्ति नोर्ड स्ट्रीम टू पाइपलाइनबाट हुने आपूर्ति क्षमताको पाँच भागको एक भाग मात्र हुनेछ। साइबेरियाबाट नयाँ ग्यास पाइपलाइन कहिले स्ट्रीममा पुग्छ भन्ने पनि स्पष्ट छैन। तर चीनले हरितगृह ग्यास कटौती गर्ने लक्ष्य पूरा गर्न कोइलामा आफ्नो निर्भरता कम गर्न प्रयासका लागि रूसी ग्यासको आयातलाई अझ बढाउन सक्छ।
क्यासिनोले बुझाए रु ८७ करोड रोयल्टी काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनपछि क्यासिनो सञ्चालन गरेबापत तिर्नुपर्ने रोयल्टी तिर्ने क्रम बढेको छ । आजसम्म सरकारको खातामा क्यासिनो कम्पनीबाट रु ८७ करोड राजस्व सङ्कलन भएको पर्यटन विभागका होटल तथा क्यासिनो हेर्ने अधिकृत खेमराज जोशीले जानकारी दिए । उनले भने, “रोयल्टी नतिर्ने क्यासिनोलाई कारबाही गर्ने निर्देशन भएसँगै नतिरेकाले पनि तिर्न थालेका छन् ।” मन्त्री आलेले क्यासिनोको रोयल्टी नतिर्नेको लाइसेन्स खारेज हुने चेतावनी दिएसँगै अहिले क्यासिनो सञ्चालकले रोयल्टी तिर्न थालेका पर्यटन विभागले जनाएको छ । पर्यटन विभागका अनुसार हालसम्म कम्तीमा पनि १७ वटा कम्पनीले रोयल्टी तिर्नुपर्ने बक्यौता बुझाएका छन् भने सेन्टर मिडिया प्राली मिनिक्यासिनोले रु छ करोड ५० लाख रोयल्टी बुझाएसँगै सरकारको खातामा कम्तीमा पनि रु ८७ करोड रकम जम्मा भएको हो । अझै उक्त प्रालिले दुई करोड ७० लाख ५० हजार बुझाउन बाँकी रहेको पर्यटन विभागका होटल तथा क्यासिनो हेर्ने अधिकृत जोशीले जानकारी दिए । विभागका अनुसार अब सरकारलाई क्यासिनो सञ्चालकले तिर्नुपर्ने बक्यौता रकम जम्मा रकम कम्तीमा पनि रु ७५ करोड मात्रै रहेको छ । यसैगरी मन्त्री आलेकै निर्देशनमा क्यासिनोको रोयल्टी वर्षौँसम्म पनि नतिर्ने काठमाडौँको दरबारमार्गमा रहेको होटेल याक एण्ड यतीको लाइसेन्स खारेस गरिएपछि अहिले अन्य क्यासिनो सञ्चालकले रकम तिर्न सुरु गरेको विभागको दाबी छ ।
पुरुषप्रधान सोचका मान्छेहरूसँग लड्न अत्यन्तै अप्ठेरो छः नेविसंघ महामन्त्री उर्मिला थपलिया नेपाली कांग्रेसको भ्रातृसंघ नेपाल विद्यार्थी संघ (नेविसंघ)की महामन्त्री उर्मिला थपलिया एक दिन मात्रै तामझामको साथ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउनुभन्दा पनि समाजलाई महिला हिंसामुक्त बनाउने बाटोमा लाग्नुपर्ने बताउँछिन् । महिला आर्थिक, शैक्षिक, कानुनी र पहुँचको हिसाबले आत्मनिर्भर बन्न सके हिंसाका घटनामा कमी आउने उनको बुझाइ छ । घर, परिवार, समाज र राज्यले महिलालाई आत्मनिर्भर बन्ने वातावरण तयार पार्नुपर्ने उनले बताइन् । साथै महिला आफैले पनि क्षमता बढाउन मिहिनत गर्नुपर्ने उनको सुझाव छ । २०५३ सालमा धादिङस्थित निलकण्ठ माविमा इकाई उपाध्यक्ष बनेर राजनीतिक यात्रा थालेकी थपलिया त्यसको २३ वर्षपछि नेविसंघको केन्द्रीय महामन्त्री बनिन् । यो बीचमा उनले नेविसंघ धादिङको सचिव, काठमाडौं प्रर्दशनीमार्गस्थित विश्वभाषा क्याम्पसको स्ववियु सचिव, नेविसंघको केन्द्रीय सदस्य, महासमिति सदस्य र नेविसंघको केन्द्रीय उपाध्यक्ष पदमा रहेर कार्यानुभव बटुलेकी छिन् । अध्ययन र लेखनमा रुचि राख्ने थपलियाका राजनीतिक र साहित्यसम्बन्धी ६ वटा पुस्तक पनि प्रकाशित छन् । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा थपलियासँग गरिएको कुराकानीः महिला नेतृत्व तहमा पुग्दासम्म कस्ता कस्ता चुनौती आउने रहेछन् ? महिलाले जहिले पनि तीनवटा निकायसँग लड्नुपर्छ । पारिवारिक संरचनासँग, समाज र राज्य सत्ता । घरमा कन्भिन्स गराएर निस्किएपछि समाजको सञ्जाल डरलाग्दो र ठूलो छ, त्यसको सामना गर्न त्यति सजिलो छैन । यी दुई संरचना तोडेर अर्को संरचनामा जाने भनेको राज्य सत्ता हो । पुरुषप्रधान सोचका मान्छेहरूसँग लड्न अत्यन्तै अप्ठेरो छ । महिलाको क्षमता जति धेरै भए पनि त्यो कुराको कदर नगर्ने समाज छ । सहायक पदहरू सहजै दिने, तर महिलालाई नेतृत्व नै सुम्पिन कोही पनि तयार हुँदैनन् । एक्लै हिँड्दा, बोल्दा बस्दा महिला भएकै कारण आफूलाई संकुचित बनाउनुपर्ने अवस्था छ । सबै पुरुष उस्तै छैनन्, तर पुरुषप्रधान सोच जीवित भएका कारण अगाडि बढ्छु, केही गर्छु भन्दा अप्ठेरो छ । महिलाले पहिलेको तुलनामा अवसर पनि पाएका छन् कि चुनौती मात्रै छन् ? समय बढ्दै जाँदा केही अवसर भने प्राप्त भएका छन् । तर ती पर्याप्त छैनन् । हाम्रो हजुरआमाको जमानामा भन्दा हामीले धेरै अवसर पाएका छौं । संविधान र कानुनले पनि महिला सहभागितालाई अनिवार्य गरेपछि सहभागिता गराउनुपर्ने अवस्था सृजना गरायो । यदि यो अनिवार्यता नभएको भए महिलालाई सहजै स्वीकार्ने अवस्था बन्दैनथ्यो । नेतृत्वमा महिला सहभागिता र समाजमा महिला हिंसा अन्त्य गर्न कानुन पर्याप्त नभएको हो वा भएका कानुन कार्यान्वयनको पक्ष फितलो भएको हो ? कानुन पर्याप्त छन्, तर कार्यान्वयनको पक्ष फितलो भयो । सञ्चारमाध्यम, सामाजिक सञ्जालको सहज पहुँचले जस्ता घटना पनि सजिलै बाहिर आउन थालेका छन् । यसले गर्दा महिला हिंसा बढेको जस्तो देखिएको छ, तर घटना पहिले पनि हुन्थे अहिले पनि भइरहेका छन् । यसको न्यूनीकरणका लागि हामीसँग भएका कानुनको कार्यान्वयन पक्ष बलियो हुनुपर्छ । घटनालाई राजनीतिक आवरणले ढाक्दा हिंसाका घटना झन् घटेका छन् । आफन्तले गल्ती गर्दासमेत हात नकमाईकन सजाय दिन सकियो भने मात्रै समाजमा महिला हत्या, हिंसाका घटनामा कमी आउँछन् । महिला नेतृत्वमा पुग्ने सवालमा पनि संविधान र कानुनी व्यवस्थाले सुनिश्चितता गराएको छ । तर महिलाले क्षमता बढाएर खुल्ला प्रतिस्पर्धाबाट नेतृत्वमा पुग्ने आँट गर्नुपर्छ । महिला हिंसा न्यूनीकरणमा राज्य, अन्य सम्बद्ध निकायसँगै महिलाको भूमिका चाहिँ कस्तो हुनुपर्छ ? अहिलेको पुस्ता चेतनाले परिपक्व छ, तर व्यावहारिक भने हुन सकेका छैनन् । कानुन, रोजगारी, आर्थिक सवलीकरण, सशक्तीकरणलगायत पक्ष बलियो हुनुपर्छ । महिला आश्रित हुनुपरेन भने हिंसा कम हुँदै जान्छन् । महिलाले क्षमता बढाउनुपर्छ, युवा पुस्ताले श्रम बेच्न पाउनुपर्छ । तर हाम्रो देशमा श्रम बेच्ने ठाउँ छैन, यसमा राज्य चुकेको छ । युवालाई देशभित्रै बस्ने वातावरण बनाउन नसक्दा पनि महिला हिंसा बढेको छ । यसतर्फ सरकारको ध्यान जानुपर्छ । राजनीति गर्दैगर्दा कस्ता कस्ता अप्ठेरा परिस्थतिको सामना गर्नुपरेको छ ? धेरैपटक अप्ठेरो समय आएको छ । मिहिनेत गर्दागर्दै पनि नेतृत्वले जिम्मेवारी सुम्पिने आँट गर्दैन । गरेको कामको विश्वास गर्दैन । क्षमता देखाउँछु भन्दा समेत कतिपय अवस्थामा उपयुक्त स्थान भेटेको छैन । नेतृत्वमा पुग्दा नैतिकता र चरित्रसँग जोडेर प्रश्न उठेका छन् । उत्साहपूर्ण सहभागिता देखाउँदै कामले नेतृत्वको विश्वास जितेकी छु ।
यही हुन् माओवादी केन्द्रका प्रस्तावित केन्द्रीय सदस्यहरू (नामसहित) काठमाडौं। माओवादी केन्द्रले केन्द्रीय समिति सदस्यको नाम प्रस्ताव गरेको छ । सोमबार बसेको केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ९७ जना केन्द्रीय सदस्यको नाम मनोनयनका लागि प्रस्ताव गरेका हुन् । समानुपातिक र खुलतर्फ दलित पुरुषतर्फबाट शंकर दुलाल ठाकुर बिक टेकबहादुर मिजार रणेन्द्र बराइली कर्णबहादुर बिक रामलाल बिक दलित महिला अनिता परियार दलित महिला युवा सपना परियार मुस्लिम पुरुष अतर हुसेन रजि हैदर कोहिद अन्सारी इश्रार खान मुस्लिम महिला शेख चाँद तारा मधेसी पुरुष सूर्य नाथ यादव अशोक जयसवाल सत्य नारायण भगत दिलीप शाह उमेशकुमार यादव रामसिंह यादव राधेश्याम पासवान शिवराम यादव मधेसी महिला निशा साह इन्धु शर्मा तारा महता रूबी कर्ण सुनिता महतो अनिता हरिजन सोनिया यादव खस आर्य महिला भेषकुमारी रावत भवानी थापा कञ्चन खनाल गंगा दाहाल कमल नहकी करूणा बस्नेत सीता आचार्य जनजाति पुरुष देवेन्द्र श्रेष्ठ क्षेत्रबहादुर श्रेष्ठ कुशल लिम्बू दीर्घ श्रेष्ठ धनबहादुर मास्की दिनेश महर्जन राजकाजी महर्जन रञ्जित तामाङ सत्यनारायण शेरचन भीमकुमारी बाड्खा जनजाति महिला पार्वती पुन दिलमाया रोका दुर्गा राई सिर्जना तरामु मधेस थारू पुरुष विजय महतो बिनिता थारू खस आर्य युवा जीवन आचार्य सुमन देवकोटा सुदीप कुँवर रमेश मल्ल खिलप्रसाद बुढाथोकी केन्द्रीय प्रतिनिधितर्फ बाबुराम गौतम जनजाति पुरुष सूर्यमान दोङ खसआर्य पुरुष इन्द्र गोतामे पारसमणि शैलेन्द्र घिमिरे जनजाति पुरुष कपिल लामा खसआर्य पुरुष गोविन्द पौडेल दीपक कोइराला कमल चुडाली नारायण अधिकारी गगनबहादुर खड्का मंगलबहादुर शाही कर्णबहादुर बस्नेत खस आर्य पुरुष युवा झपट साउद शिवसिंह ओली रत्न ढकाल नरेन्द्र न्यौपान सन्तोष विष्ट लिकराज भण्डारी सुरेन्द्र बस्नेत दीपक देवकोटा उत्तम अधिकारी विजय गौतम प्रकाश विकल्प विमल अधिकारी डा भरत लामिछान प्रस्तावित केन्द्रीय प्रतिनिधि खस आर्य पुरुष विष्णु सापकोटा हरि ज्ञवाली टेकेन्द्र भट्ट गोपाल शर्मा खोपबहादुर कँडेल झलक सिंह डीपी ढकाल जनजाति पुरुष कालीबहादुर मगर खस आर्य महिला सुनिता गौतम सावित्री बुढाथोकी सरस्वती न्यौपाने अमृता नेपाल कृष्णा केसी खस आर्य पुरुष रामनारायण बिडारी
युरिक एसिडको दुखाइबाट तत्काल छुट्कारा पाउन यसो गर्नुहोस् काठमाडौं । पछिल्लो समय युरिक एसिड आम समस्या जस्तै बनिरहेको छ । यरिक एसिडका पीडाबाट धेरै मानिसहरु गुज्रिरहेका छन् । के हो त युरिक एसिड ? । युरिक एसिड रगतमा पाईने एक प्रकारको पदार्थ हो । या भनौं हामीले खाने खानाबाट आउने प्युरिन ब्रेकडाउन हुँदै गएपछि बन्ने प्रोडक्ट नै युरिक एसिड हो । शरीरमा प्रोटिनको मेटाबोलिज्म भएर निस्कने तत्वलाई युरिक एसिड भनिन्छ । न्युक्लिक एसिड र प्युरिन ग्रुपको प्रोटिनबाट मात्र युरिक एसिड बन्छ । यो सामन्यतय पिसाबबाट बाहिर निस्कन्छ । जब मृगौलाको छान्ने क्षमता कम हुन्छ र युरिक एसिड रहन्छ, तब त्यो हड्डीको जोर्नीमा गएर जम्मा हुन्छ । मृगौलाले युरिक एसिड कम उत्सर्जन गर्दा पनि त्यो रगतमा जम्मा हुन पुग्छ । युरिक एसिडको स्तर सामान्य अवस्थाको भन्दा उच्च भएका अवस्थामा शरीरमा बिभिन्न समस्या उत्पन्न हुने गर्दछ । हाम्रो शरीरमा (मिर्गौला) ले युरिक एसिड राम्ररी फाल्न नसक्दा वा शरीरले फाल्न सक्नेभन्दा बढी पैदा हुँदा युरिक एसिड बढ्छ । कहिले काँहि इण्डोक्राइन रोग, क्यान्सर, केमोथेरापी आदिका कारण पनि युरिक एसिड बढ्छ । युरिक एसिडको मात्रा शरिरमा कति हुनु पर्छ त ? पुरुष र महिलामा युरिक एसिडको सामान्य स्तर फरक–फरक हुन्छ । ३ सय ६० माईक्रो मोल प्रतिलिटर वा ६ मिलिग्राम प्रतिमिलिलिटर सम्मको स्तर युरिक एसिडको भए महिलामा सामान्य मानिन्छ र तर यो भन्दा बढी भए त्यसबाट स्वास्थ्यमा नराम्रो असर पर्न सक्ने हुन्छ । पुरुषमा भने यो स्तर ४ सय माईक्रोमोल वा ६ दशमलव ८ मिलिग्रामसम्म पनि सामान्य नै मानिन्छ । कस्लाई धेरै जसो हुन सक्छ त यूरिक एसिड ? सामान्यतया यी व्यक्तिहरुलाई युरिक एसिड हुन सक्छ । जो अस्वस्थ्यकर खाना खान्छन् र शारीरिक परिश्रम गर्दैनन् । साथै कहिले काहीँ वंशानुगत रुपमा पनि दोस्रो पुस्तामा यो रोग देखापर्न सक्छ । त्यस्तै जाँडरक्सी बढि मात्रामा सेवन गर्ने र धेरै प्रोटिनयुक्त खानेकुरा खानेलाई पनि युरिक एसिड हुन सक्छ । यस्तै उच्च रक्तचापमा सेवन गरिने औषधी, पेन किलर तथा क्यान्सरको उपचारमा प्रयोग हुने औषधीले पनि युरिक एसिडको मात्रा बढ्ने गर्छ । मधुमेह रोगीले सेवन गर्ने औषधीका कारण पनि युरिक एसिड देखिने गरेको चिकित्सकहरु बताउँछन् । रातो मासु, सी फूड, दाल, राजमा मसरुम, टमाटर, बन्दा, मटर, पनीर, भिण्डी, चामल लगायतका कारण पनि शरीरमा युरिक एसिड बढ्ने गर्छ ।  यस्तै, आणुवंसिकता, शरीरमा आइरनको मात्रा बढेमा, थाइराइडको समस्या भएमा, मिर्गौला खराब भएमा, मोटोपना भएमा वा अत्याधिक मात्रामा मदिरापानका कारण पनि युरिक एसिड बढ्ने गर्छ । युरिक एसिड हुँदा यस्ता लक्षणहरु देखा पर्ने गर्दछ ।युरिक एसिड एक्कासी बढेमा जोर्नी दुख्ने, उठ्न–बस्न कठिनाई हुने, औला सुन्निने, जोर्नीमा गाँठो पर्ने गर्छ । साथै हात तथा खुट्टामा घोचाई सहितको तिव्र पिडा हुने, पिसाब फेर्नमा कठिनाई हुने गर्छ । यस्तै मुख सुकेको अुनभव हुने, मन चञ्चल हुने, छाती, घाँटीमा जलन र पोल्ने हुने गर्दछ । युरिक एसिड बढ्दा निद्रा पनि कम लाग्ने गर्दछ । युरिक एसिडबाट बच्ने उपायहरु: –पर्याप्त पानी वा झोलयुक्त खानेकुरा सेवन गर्ने, जसले बढी भन्दा बढी युरिक एसिड पिसाबको माध्यामबाट बाहिर निस्कन्छ । – प्रोटिनयुक्त खानेकुरा सेवन नगर्ने । –रातो मासु, कलेजो, रक्सी, गेडागुडी जस्ता खानेकुराले को सेवन नगर्ने । –नियमित व्यायाम गर्ने। –धूमपान र मध्यपानबाट टाढै बस्ने । –गुलियो पदार्थ वा यस्ता अन्य पेय पदार्थको प्रयोग कम गर्ने –तौल नियन्त्रण गर्ने । युरिक एसिडले हुने दुखाइमा तत्काल के गर्ने ? युरिक एसिडबाट दुखाइ हुनेबित्तिकै कम गर्न दुखेको ठाउँमा तातोले सेक्न सकिन्छ । दुई हात रगडेर हातको तातोले दुखेको भागमा सेक्ने । यो धेरै प्रभावकारी हुन्छ। यो एक पटकमा कम्तिमा २५ देखि ३० मिनेट दिनुपर्छ र समय भए जति पनि र जुनसुकै बेला गर्न सकिन्छ । साथै हत्केलाले सेक्न नसक्दा रबर ब्याग तताएर सेक्न सकिन्छ । ध्यान दिनुपर्ने कुरा, सेकाइ धेरै तातो र चर्को हुनु हुँदैन । मन्द तातोले सेक्नुपर्छ । यसो गर्दा तत्काल हुने दुखाईबाट केही हदसम्म आराम पाउन सकिन्छ ।
भौतिक पूर्वाधार मन्त्री यादवद्वारा लामोसाँघु जिरी सडकखण्डको निरीक्षण काठमाडौ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादव नेतृत्वको टोलीले लामोसाँघु जिरी सडक खण्ड र सडक डिभिजन कार्यालय चरीकोटको आज निरीक्षण गरेको छ । टोलीले सडकको अवस्था, सुधारका मापदण्ड, कालोपत्र, पिच गर्दा प्रयोग गरिएका वस्तुगत सामग्री र गुणस्तरकोे जानकारी लिएको हो । सो अवसरमा मन्त्री यादवले सडक तथा भौतिक पूर्वाधारको विकासका क्षेत्रमा जिम्मेवारी लिएका निर्माण व्यवसायीले समयसीमाभित्र योजना सम्पन्न नगरेमा उनीहरूलाई कालोसूचीमा राखेर दण्डित गरिने चेतावनी दिईन् । देशको विकास तथा समृद्धिमा पूर्वाधार विकासको महत्वपूर्ण भूमिका रहने बताउँदै मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले स्थानीय उत्पादन बजारीकरण गर्न र पर्यटनस्थलमा पर्यटक ल्याउन सडक सञ्जालले सहयोग गर्ने विश्वास व्यक्त गरे । सडक विभागका महानिर्देशक शिवहरि सापकोटाले सडकलगायत अन्य भौतिक पूर्वाधारका आयोजनामा सम्झौता भएअनुसार गुणस्तरीय वस्तु प्रयोग गर्नुपर्नेमा जोड दिँदै उनीहरूले कमजोरी गरेमा स्थानीय जनता सचेत भएर विभागमा खबर गर्नुपर्ने बताए । आयोजना प्रमुख रोहित विसुरालले यस क्षेत्रको सडक सुधारमा विगतभन्दा प्रगति हासिल गरेको जानकारी गराए । विभागको चरीकोट शाखाले दोलखा तथा त्यस आसपासमा बिग्रिएका पुलका साथै सडकको अवस्थाबारे प्रतिनिधिमण्डललाई जानकारी गराएको थियो ।
आगलागीको घटनाप्रति वरिष्ठ नेता पौडेलद्वारा दुःख व्यक्त तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं उच्चस्तरीय राजनीतिक समितिका संयोजक रामचन्द्र पौडेलले दमौलीमा भएको आगलागीको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । आईतबार साँझ तनहुँको दमौली आइपुगेका पौडेलले सञ्चारकर्मीसँग कुरा गर्दै घटनाप्रति गहिरो दुःख व्यक्त गरेका हुन् । “दमौलीमा भएको आगलागीको घटनाले मलाई निकै दुःखित बनाएको छ”, उनले भने । यस आगलागीको घटनाले जनजीवनलाई आतङ्कित र त्रसित बनाएको भन्दै नेता पौडेलले धैर्यधारण गर्न पीडित परिवारलाई आग्रह गरे । उनले वारुणयन्त्रलाई चुस्त रूपमा राख्न सकेको भए कम क्षति हुने दाबीसमेत गरे । राहत र क्षतिपूर्तिका कार्यक्रम छिट्टै उपलब्ध गराउन आफूले सरकारसँग आग्रह गर्ने बताउँदै उनले घरहरू बनाउँदा विशेष ध्यान पुर्‍याउनुपर्नेमा जोड दिए । स्थानीय तहहरूले पहिलो प्राथमिकतामा राखेर वारुणयन्त्र खरिद गर्नुपर्ने सुझाव दिँदै नेता पौडेलले आफू प्रधानमन्त्री कहाँ गएर गृहमन्त्रीलाई बोलाएर सिम्रिक एअरको हेलिकप्टर पठाएकोे बताए । कामहरू गर्दा सावधानी र सतर्कता अपनाउन नसक्दा आगलागीका घटना हुन सक्ने भन्दै उनले धनमालको ठूलो क्षति भएकाले पीडितलाई राहतका लागि सबै लाग्नुपर्नेमा जोड दिए ।
भिसा र टिकटबिनै जहाज चढेको घटना छानबिन समितिले बुझायो प्रतिवेदन काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिना पासपोर्ट र टिकट विमानसम्मै पुगेको घटनाबारे अध्ययन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ । ९ फागुन राति विमानको टिकट र भिसा नभएको व्यक्ति विमानस्थलभित्र छिरेर कतारको दोहा उडान भर्न लागेको नेपाल एयरलाइन्सको विमानमा पुगेका थिए । अन्तर्राष्ट्रिय विमानस्थलमा व्यक्ति यसरी विमानसम्म पुगेपछि सुरक्षा र जाँच प्रणालीलाई लिएर प्रश्न उठकेको थियो । त्यसपछि उक्त घटनाबारे जाँच गर्न १३ फागुनमा एक उच्चस्तरीय समिति गठन गरएको थियो । अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराई संयोजक रहेको समितिले आइतबार गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको हो । समितिमा महासेनानी अनुप अधिकारी, प्रहरी उपरीक्षक वेद विष्ट, कामु सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक किरण बस्नेत, उप-अनुसन्धान निर्देशक विष्णुमणि आचार्य, हवाई सुरक्षा निर्देशक वासुदेव भट्टराई, नेपाल वायु सेवा निगमका निर्देशक अनिल घिमिरे, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल र गृह मन्त्रालयका उपसचिव गोमा चेम्जोङ सदस्य रहेका थिए । समितिको प्रतिवेदन बुझ्दै गृहमन्त्री खाणले प्रतिवेदन कार्यान्वयन गरिने बताए । उनले विमानस्थलभित्र रहेका विभिन्न निकायसँगको सहकार्यमा प्रतिवेदन कार्यान्वयनमा अघि बढ्ने बताए ।
आगलागीको घटनाप्रति श्रममन्त्री श्रेष्ठद्वारा दुःख व्यक्त तनहुँ । तनहुँको व्यास नगरपालिका–४ स्थित दमौली मुख्यचोकमा आइतबार बिहान आगलागीको घटनाप्रति श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले दुःख व्यक्त गरेका छन् । आगलागी भएको केही समयपछि आगो निभाउन सिम्रिक एयरको हेलिकप्टरबाट दमौली आइपुग्नुभएका मन्त्री श्रेष्ठले पीडितलाई भेटी दुःख व्यक्त गरेका हुन् । मन्त्री श्रेष्ठले पीडित परिवारलाई सरकारका तर्फबाट उचित क्षतिपूर्ति दिइने प्रतिबद्धता व्यक्त गरे । “अब बस्ने मन्त्रिपरिषद् बैठकमा आगलागी पीडितलाई क्षतिपूर्ति प्रदान गर्नका लागि पहल गर्छु”, श्रेष्ठले भने । जनतालाई परेको पीरमर्कामा अहिलेको गठबन्धनको सरकार क्रियाशील भएर काम गर्ने बताउँदै मन्त्री श्रेष्ठले भने, “सरकार जनताको अभिभावक हो, जनतालाई परेको पीरमर्कामा सरकार सधैंँ जनताको साथमा छ ।”
बैंकिङ कसुरमा दोषी ठहर भएका श्यामसुन्दर घिमिरे पक्राउ काठमाडौं । बैंकिङ कसुरमा दोषी ठहर भएका काभ्रे पाँचखाल–९ का ३६ वर्षीय श्यामसुन्दर घिमिरे पक्राउ परेका छन् । गत २८ मंसिर र २७ माघमा उच्च अदालत, पाटन ललितपुरले उनलाई बैंकिङ कसुरमा २६ लाख रुपैयाँ जरिवाना र आठ दिनको कैदको फैसला सुनाएको थियो । तर, फरार रहँदै आएका उनलाई आइतबार काठमाडौं जोरपाटीबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार उनलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौँ जिल्ला अदालत उपस्थित गराइएको छ ।
युद्ध अपराध के हो ? रूसमाथि किन अनुसन्धान गरिँदैछ ? लण्डन (बीबीसी) । रुसले सर्वसाधारणमाथि हमलाहरू गरेका आरोपसँगै युक्रेनमा सम्भावित युद्ध अपराधमाथि एउटा अनुसन्धान शुरू गरिएको छ। अन्तर्राष्ट्रिय फौजदारी अदालत आईसीसीका प्रमुख अभियोजनकर्ताले युद्ध अपराध, मानवता विरुद्धका अपराध र नरसंहार माथिका आरोपमा प्रमाण जुटाउने काम भइरहेको जनाएका छन्। ३९ देशले त्यस्तो छानबिन हुनुपर्ने माग गरेपछि त्यसो गरिएको हो। रुसले भने सर्वसाधारणलाई निशाना बनाइएको कुरा अस्वीकार गरेको छ। युद्ध अपराध के हो र रुसमाथि के आरोप लगाइएको छ? युद्ध अपराध के हो? युद्ध अपराधलाई व्याख्या गर्ने कानुनी आधारमध्ये एक जिनिभा महासन्धि हो। युद्धका कानुन र परिपाटी समेटिएको त्यो एउटा व्यापक दायराको र पुरानोमध्येको महासन्धि हो। र पूर्व युगोस्लाभिया र रवान्डाजस्ता केही घटनाविशेषमा बनाइने इन्टरन्याशनल ट्रिब्युनल्स जाँच आयोगले समेत त्यस्तो व्याख्या गर्छन्। जिनिभा महासन्धि अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरू मिलेर बनेको छ जसले युद्धमा मानवीय व्यवहारका लागि अन्तर्राष्ट्रिय कानुनी मापदण्ड तयार पार्छ। पहिलो तीन वटा महासन्धिहरूले युद्ध लड्नेहरू र युद्ध बन्दीलाई संरक्षण गर्छन्। जबकि चौथो महासन्धि जुन दोस्रो विश्वयुद्धपछि बनेको हो त्यसले युद्ध क्षेत्रमा आम नागरिकलाई संरक्षण गर्छ। सन् १९४९ को जिनिभा महासन्धिलाई रुस सहितका संयुक्त राष्ट्रसङ्घका सबै देशले हस्ताक्षर गरेका छन्। चौथो नम्बरको जिनिभा महासन्धिका अनुसार युद्ध अपराध भन्नाले निम्न कुराहरू बुझिन्छ सन् १९९८ को रोम विधान सशस्त्र द्वन्द्वसँग सम्बन्धित अर्को महत्त्वपूर्ण अन्तर्राष्ट्रिय सन्धि हो। अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लङ्घनका विषयमा यस व्यवस्थाले समेत युद्ध अपराधलाई समेटेको छ। जसले भन्छ- यसका अनुसार अस्पताल, धर्म वा शिक्षा आर्जनसँग जोडिनेजस्ता निश्चित प्रकारका भवनलाई जानाजान निशानामा पार्न पाइँदैन। यसले विषाक्त ग्यासजस्ता निश्चित प्रकृतिका हतियारहरूको प्रयोगमा प्रतिबन्ध लगाएको छ। आईसीसी के हो र युद्ध अपराधहरूको अभियोजन कसरी हुन्छ? द नेदरल्यान्ड्सको हेगमा रहेको आईसीसीको स्थापना रोम विधान अन्तर्गत रहेर सन् १९९८ मा भएको हो। यो एउटा स्वतन्त्र संस्था हो जसले अन्तर्राष्ट्रिय समुदायलाई सरोकार हुने गम्भीर अपराधहरूमा अभियोजन चलाउँछ। यसले युद्ध अपराध, नरसंहार, मानवताविरूद्धको अपराध र कुनै पनि देशविरुद्ध राजनीतिक वा सैन्य नियन्त्रणका लागि गरिने कामको अपराधमा अनुसन्धान गर्छ। राज्यहरूले सन्दिग्ध अपराधीहरूलाई आफ्नै अदालतमा अभियोजन चलाउन सक्छन्। आईसीसीको क्षेत्राधिकारको प्रयोग राज्यहरूले नसक्ने वा त्यसो गर्न नचाहने अवस्थामा अन्तिम विकल्पको रूपमा गरिन्छ। यस अदालतको आफ्नै प्रहरी बल छैन र संदिग्धहरूलाई पक्रन त्यसले देशहरूको सहयोग लिने गर्छ। आईसीसीले काराबास र जरिबानाको रूपमा सजाय दिन सक्छ। रुस र युक्रेन उक्त अदालतको १२३ सदस्य राष्ट्रमध्ये छैनन्। तर युक्रेनले त्यसको क्षेत्राधिकार स्विकारेको छ जसको अर्थ आईसीसीले केही अपराधका आरोपमा अनुसन्धान गर्न सक्छ। यसको सदस्य नभएका अन्य प्रभावशाली देशहरू अमेरिका, चीन र भारत हुन्। के यसअघि युद्धअपराधबारे अभियोजन भएको छ? दोस्रो विश्वयुद्धका बेला नाजी जर्मनीले मुख्य रूपमा यहुदीहरूलाई लक्षित गरेर दशौँ लाख मानिसहरूको हत्या गरेको थियो। आम नागरिक र युद्ध बन्दीमाथि गरिएको गलत व्यवहारका कारण ब्रिटेन, सोभियत सङ्घ र अमेरिका ( संलग्न भएको गठबन्धनले जिम्मेवारलाई अभियोजन गर्न प्रेरित गरेको थियो। सन् १९४५ र १९४६ को नुरेम्बर्ग ट्रायल्सले १० जना नाजी नेताहरूलाई मृत्युदण्ड सुनाएको थियो। सन् १९४८ मा एउटा त्यस्तै प्रक्रिया टोक्योमा शुरू भयो जहाँ सातजना जापानी कमाण्डरहरूलाई झुण्ड्याइएको थियो। ती ट्रायलहरूले त्यसपछिका अभियोजनका लागि नजिरहरू खडा गरेका थिए। सन् २०१२ मा कङ्गोका युद्ध सरदार थोमस लुबाङ्गा आईसीसीबाट दोषी ठहरिने पहिलो व्यक्ति भएका थिए। जतिखेर उनलाई सन् २००२ र २००३ मा आफ्नो विद्रोही सेनाका लागि बाल सैनिकहरूको भर्ती र प्रयोग गरेकोमा दोषी ठहर्‍याइएको थियो। उनलाई १४ वर्षको जेल सजाय सुनाइएको थियो। पूर्व युगोस्लाभियाका लागि गठित इन्टरन्याशनल क्रिमिनल ट्रिब्युनल सन् १९९३ देखि २०१७ सम्म एउटा संयुक्त राष्ट्रसङ्घीय निकायका रूपमा काम गर्‍यो। सो निकाय युगोस्लाभियाको युद्धका बेला भएका अपराधको अभियोजनका लागि खडा गरिएको थियो। जसले बोस्नियाका एकजना पूर्व सर्ब नेता राडोभान कारडिचलाई सन् २०१६ मा युद्ध अपराध, नरसंहार र मानवताविरूद्धको अपराधमा उनको भूमिकाका लागि दोषी ठहर्‍याएको थियो। बोस्नियाको सर्ब फौजका सैन्य कमान्डर राट्को म्लाडिकलाई समेत सोही अपराधमा दोषी ठहर्‍याइएको थियो। अन्य केही समयका लागि लागि स्थापना गरिएका अदालतले समेत रवान्डा र कम्बोडियामा नरसंहार र मानवताविरूद्धको अपराधका लागि केही आरोपितमाथि अभियोजन चलाएका थिए। रवान्डाका लागि गठन गरिएको इन्टरन्याशनल क्रिमिनल ट्रिब्युनल त्यस्तो पहिलो निकाय थियो जसले बलात्कारलाई नरसंहार गराउने आपराधिक शैलीको रूपमा स्विकारेको थियो। रुसमाथिका आरोप के हुन्? किएभ, खार्किभ र खेर्सन सहितका शहरमा हालैका दिनमा ठूला हमलाहरू भए। खार्किभमा आम नागरिकहरू मारिने गरी हवाई हमलाहरू भएपछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसलाई युद्ध अपराध गरेको आरोप लगाए। मस्कोमाथि अर्को हमलामा सोही शहरमा विमानबाट छाडिने क्लस्टर बमहरू प्रयोग गरेको समेत आरोप लगाइएको छ। क्लस्टर बमहरू त्यस्ता हतियार हुन जो छाडिएपछि अन्य ससाना युद्ध सामग्रीका रूपमा फैलन्छन्। ती हतियारलाई सन् २००८ को कन्भेन्सन अन क्लस्टर मुनिसन्स अन्तर्गत रहेर धेरै देशले प्रतिबन्ध लगाएका छन्। तर त्यस महासन्धिमा हस्ताक्षर नगर्ने रुस र युक्रेन दुवैले त्यसलाई प्रतिबन्ध लगाएका छैनन्। मानव अधिकारवादी समूहहरू र संयुक्त राष्ट्रसङ्घका लागि युक्रेनका राजदूतले समेत आफ्नो एक उत्तर पूर्वी शहरमा रुसले भ्याकुम बमहरू प्रयोग गरेको आरोप लगाएका छन्। भ्याकुम बमहरू थर्मोब्यारिक हतियार हुन् जसले वाष्पीय इन्धनको बादल उत्पन्न गराएर ठूलो क्षति गराउन सक्छन्। यसैको प्रयोग रोक्न भनेर कुनै अन्तर्राष्ट्रिय कानुन छैन। तर यदि कुनै देशले नागरिक समूहलाई खासगरी उनीहरूको बसोबास, विद्यालय वा अस्पताल भएका ठाउँमा प्रयोग गर्छन् भने त्यो सन् १८९९ र १९०७ को हेग महासन्धि अनुसार युद्ध अपराधमा दरिन्छ। क्रेमलिनले भने युद्ध अपराध गरेको वा क्लस्टर र भ्याकुम बम प्रहार गरेको कुरालाई खारेज गर्दै त्यस्ता आरोपलाई ‘मिथ्या समाचार’ बताएको छ। रुसी रक्षा मन्त्री सर्गेई शोइगुले ‘हमलाहरू सैन्य निशानामा मात्र गरिएको र खास उच्च तहको प्रस्टता भएका हतियार मात्र प्रयोग गरिएको’ बताएका छन्।
१ करोड डलर टाउकोको मूल्य तोकिएका तालिबान नेता सिराजुद्दीन हक्कानी पहिलो पटक सार्वजनिक काठमाडौं। अफगानिस्तानका अन्तरिम गृहमन्त्री र तालिबानका बरिष्ठ नेता सिराजुद्दीन हक्कानी पहिलो पटक सार्वजनिक रुपमा देखिएका छन् । पाकिस्तानी अखबार डनका अनुसार हक्कानी उक सरकारी कार्यक्रममा सहभागी भए र उनका केही तस्वीरहरु पनि सार्वजनिक भएका छन् । हालसम्म उनी अमेरिकाले जारी गरेको मोस्ट वान्टेड सूचीमा छन् । हक्कानी शनिबार काबुलमा अफगान पुलिस अधिकारीहरुको पासिङ आउट परेडमा सहभागी भए । यो कार्यक्रमलाई अफगानिस्तानको राष्ट्रिय टिभी च्यानलमा पनि लाइभ प्रसारण गरिएको थियो । कार्यक्रम सकिएपछि तालिबानले नै यो कार्यक्रममा सहभागी भइरहेका सिराजुद्दीन हक्कानीका तस्वीरहरु सामाजिक संजालमार्फत जारी गरेको हो । यस क्रममा पुलिस अधिकारीहरुलाई सम्बोधन गर्दै उनले भने ‘तपाइँहरुको सन्तुष्टि र तपाइँहरुलाई आश्वस्त बनाउनको लागि म मिडिया र जनताको अगाडि आएको हुँ ।’ अहिलेसम्म सिराजुद्दीन हक्कानीको केवल एउटा मात्र तस्वीर सार्वजनिक भएको थियो जसमा उनको अनुहार निकै धमिलो देखिन्छ । गत वर्ष अगष्टमा तालिबानले अफगानिस्तानमा नियन्त्रण गरेपछि हक्कानीले तालिबानका बरिष्ठ अधिकारी र विदेशी पाहुनाहरुसँग लगातार भेटघाट गरिरहेका थिए तर ती भेटघाटको कुनै पनि तस्वीर जारी गरिएको थिएन । एक पटक उनले एउटा टेलिभिजन च्यानललाई अन्तरवार्ता पनि दिएका थिए तर त्यसमा पनि उनको अनुहार देखाइएको थिएन । हक्कानी अहिले पनि अमेरिकाको संघीय जाँच ब्यूरो एफबीआइको मोस्ट वान्टेड सूचीमा छन् । अमेरिकाले उनको बारेमा कुनै पनि खबर दिनेलाई एक करोड डलर पुरस्कार दिने घोषणा गरेको छ ।
प्रेस चौतारीको बागमती, उपत्यका, प्रतिष्ठान र एसोसियट प्रदेशमा नयाँ नेतृत्व चयन काठमाडौं । प्रेस चौतारी नेपालको बागमती, उपत्यका, प्रतिष्ठान र एसोसियट प्रदेशमा नयाँ नेतृत्व चयन गरिएको छ । शनिबार भएको प्रथम संयुक्त अघिवेशनले चारै प्रदेशमा नयाँ नेतृत्व चयन गरेको हो । बागमती प्रदेशको अध्यक्षमा शरद सापकोटा, उपत्यकाको अध्यक्षतामा विष्णु आचार्य, प्रतिष्ठानको अध्यक्षमा सरोज ढुङ्गेल र एसोसियट अध्यक्षमा श्रीहरि थापा निर्वाचित भएका छन् । सबै प्रदेशमा ३१ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको हो । बागमती प्रदेशको महासचिवमा प्रकाश दाहाल, उपत्यकाका महासचिवमा धनश्याम धमला र प्रतिष्ठानको महासचिवमा भिसा काफ्ले निर्वाचित भएका छन् । अधिवेशनको नेकपा (एमाले) का उपाध्यक्ष सुभाषचन्द्र नेम्बाङले उद्घाटन गरेका थिए । आज प्रेस चौतारीले देशभर नै प्रदेश अधिवेशन गरेको छ । प्रेस चौतारी नेपालको यहीँ फागुन २७ र २८ गते पोखरामा नवौँ राष्ट्रिय महाविधेशनको आयोजना गरेको छ । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएको छ ।
मधेस र गण्डकी प्रदेशबीच अन्तरप्रदेशीय विमान सेवा आजदेखि सुरु जनकपुरधाम ।आजदेखि घरेलु उडानअन्तर्गत जनकपुरधाम–पोखराबीच हवाई यातायात सुरू भएको छ । मधेस प्रदेश र गण्डकी प्रदेशबीच अन्तरप्रदेशीय विमान सेवा आजदेखि सुरु भएको हो । दुवै प्रदेशको पर्यटनलाई बढावा दिने उद्देश्यले साताको तीन दिन उडान हुने गरी विमान सेवा सुरु भएको हो । नागरिक उड्डयन कार्यालय जनकपुरधामका प्रमुख योगेन्द्रनाथ कुँवरले शनिबार, सोमबार र बिहीबार सातामा तीन दिन एक–एकपटक उडान हुने जानकारी दिए । गण्डकी प्रदेशको राजधानी पोखरा र मधेस प्रदेशको राजधानी जनकपुरधामसम्मको पहिलो उडानमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहित १८ सदस्यीय टोली मधेस प्रदेशको भ्रमणमा आएका छन् । तीनदिने मधेस प्रदेशको भ्रमणमा आएका गण्डकीका मुख्यमन्त्री नेपालीलाई मधेस प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामसरोज यादव र उद्योग पर्यटन तथा वातावरणमन्त्री शुत्रधन महतोले स्वागत गरेका थिए। भ्रमण टोलीमा मुख्यमन्त्री पोखरेलसहित अर्थमन्त्री रामजीप्रसाद बराल, पर्यटन उद्योग तथा वाणिज्य आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेल, गण्डकी प्रदेशका मुख्यसचिव रविलाल पन्थ, पर्यटन उद्योग तथा वाणिज्य आपूर्ति मन्त्रालयका सचिव ज्ञानेन्द्र पौडेललगायत सहभागी रहेका छन् । मधेस प्रदेशका उद्योग पर्यटन तथा वातावरणमन्त्री महतोका अनुसार मुख्यमन्त्री पोखरेलको सबैभन्दा पहिले मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । आजै उनले जनकपुर–जयनगर रेलको अवलोकन गर्ने र त्यसपछि धार्मिकस्थल धनुषाधामको भ्रमण गर्ने कार्यक्रम रहेको बताइएको छ । मधेस र गण्डकी प्रदेशबीच पर्यटकीय कोरिडोर बनाउनेः मुख्यमन्त्री पोखरेल जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै मुख्यमन्त्री पोखरेलले दुवै प्रदेशलाई समृद्ध बनाउने मुख्य आधार पर्यटक रहेको बताउँदै उनले भने, “दुवै प्रदेशको समृद्धिको मुख्य अधार पर्यटन भएकाले पर्यटकीय करिडोर बनाउने आधार र सम्भावना पहिचान गर्ने र सम्भावना देखिएको योजनामा मधेससँग सहकार्य गर्नेछौँ ।” उहाँले सङ्घीयतालाई संस्थागत गर्न, मजबुत बनाउन र प्रदेश सरकारको सम्बन्ध सुदृढ हुनुपर्ने मान्यताका साथ भ्रमणका लागि आएको बताए।
सरकारले उद्योगी र व्यवसायीप्रति मैत्रीपूर्ण व्यवहार गरिरहेको छः गृहमन्त्री खाँण रुपन्देही । बालकृष्ण खाँणले सरकारले उद्योगी र व्यवसायीप्रति मैत्रीपूर्ण व्यवहार गरिरहेको बताएका छन् । सिद्धार्थ उद्योग वाणिज्य सङ्घ भैरहवाको ६३औँ वार्षिक साधरणसभामा मन्तव्य राख्दै गृहमन्त्री खाँणले भने “निजी क्षेत्रप्रति राज्यले गरेको भरोसा कहिल्यै टुट्न दिइने छैन, राज्य सञ्चालनमा निजी क्षेत्रको अहम् भूमिका छ ।” मन्त्री खाँणले पेट्रोलियम पदार्थको आयत असीमित हुँदै गएको भन्दै चिन्तासमेत व्यक्त गरे । उनले भने, “गाउँगाउँमा समेत दाउरा बाल्न छाडियो, ग्यास गाउँगाउँमा पुग्यो, यसले पनि पेट्रोलियम पदार्थ आयात बढायो, यसलाई विस्थापित गर्ने भनेकै विद्युत्को प्रयोग हो, यसैले विद्युत्को ट्रान्समिटर बनाउने गरी एमसिसी सम्झौता भएको हो ।” उनले एमसिसी सम्झौता नगरेको भए नेपालमा डलरको सङ्कट देखिने तर्क गर्दै एमसिसीले विकासमा धेरै सहयोग पु¥याउनेसमेत दाबी गरे । सो अवसरमा मन्त्री खाँणले भैरहवास्थित जिल्ला कारागार अन्यत्र स्थानान्तरण गर्न सरकारले सघाउने पनि बताए । उनले विद्युतको ट्रङ्कलाइनको महसुल नतिरे पनि लाइन नकाटिने भन्दै उद्योगीलाई आश्वास्त पार्दै भने “लाइन काट्न विद्युत प्राधिकरण उद्योगमा गए पनि प्रहरीले सहयोग गर्दैन, समस्या सम्बोधन गर्न सरकार अग्रसर छ, ट्रङ्कलाइनको महसुल नतिरे पनि लाइन काटिदैन ।” ट्रङ्कलाइनवापतको विद्युत्को बाँकी बक्यौता महसुल करिब रु आठ अर्ब रकम उठ्न बाँकी छ । उक्त रकम नतिर्ने भन्दै उद्योगीहरूले अटेर गरिरहेका छन् भने नेपाल विद्युत् प्राधिकरणले रकम तिर्न ताकेता गरेको छ ।
पुटिनको चेतावनी- थप प्रतिबन्ध लगाएर स्थिति खराब गर्ने काम नहोस् काठमाडौं । युक्रेनमाथि रुसको आक्रमणको विरोध गर्ने देशहरुलाई रुसका राष्ट्ररपति भ्लादमिर पुटिनले चेतावनी दिएका छन् । उनले रुसमाथि थप प्रतिबन्धहरु लगाएर स्थितिलाई अरु खराब नगर्न अमेरिका सहितका पश्चिमा देशहरुलाई चेतावनी दिएका हुन् । यो टिप्पणी त्यतिबेला आएको हो जतिबेला पुटिन एक सरकारी बैठकलाई सम्बोधन गरिरहेका थिए । जसलाई रूसको सरकारी टेलिभिजन रोसया २४ मा प्रत्यक्षप्रसारण गरिरहेको थियो । सम्बोधनमा पुटिलले दाबी गरे ‘छिमेकीविरुद्ध हाम्रो कुनै गलत मनसाय छैन ।’ उनले दुई देशबीचको सम्बन्धलाई थप खराब गर्ने गरि युक्रेनले कुनै कदम अघि नबढाउनेमा आफूहरु विश्वस्त रहेको बताए । उनले भने, ‘मलाई लाग्छ सबैले अब यस बारेमा सोच्न आवश्यक छ कि सम्बन्ध सामान्य कसरी हुने छ, सामान्य रुपमा एक अर्काको मद्दत रहोस् र सम्बन्धमा सुधार आओस् ।’ रुसी सेनाको कारबाही रुसविरुद्धको केही कारबाहीको जवाफ भएको पुटिनले बताए ।
लेखा समितिको २१औँ वार्षिक प्रतिवेदन पारित काठमाडौं । सार्वजनिक लेखा समितिले आफनो २१औँ वार्षिक प्रतिवेदन पारित गरेको छ । सभापति भरतकुमार शाहले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन समितिको आजको बैठकले सर्वसम्मतिले पारित गरेको हो । समितिले वर्षभरी गरेको काम कारवाहीको वार्षिक प्रतिवेदन सदनमा पेश गर्ने उद्देश्यले तयार गरिएको मस्यौंदा प्रतिवेदनमाथि छलफल भई पारित भएको समिति सचिव डा. रोजनाथ पाण्डले जानकारी दिए। उनले भने, “बेरुजु फ्र्योट गर्ने सन्दर्भमा गठन भएका नौ उपसमितिले गरेका काम प्रतिवेदनमा समावेश छ, समसामयिक निर्णय, राष्ट्रिय गौरवका आयोजनाको निरीक्षणपछि तयार गरिएको अध्ययन प्रतिवेदनलाई पनि समेटिएको छ ।” मन्त्रालय र केन्द्रीय निकायमा रहेको बेरुजु किनारालगाउन गरिएको प्रयास, वेरुजुका सम्बन्धमा उठेका विषय, असुल उपर गर्नपर्ने रकम, आर्थिकरूपले वितीय व्यवस्थापनका सवालमा नीतिगत निर्णय गर्न चालिनुपर्ने कदमकासहितका सुझाव प्रतिवेदनमा समावेश छ ।
राष्ट्र र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्छः नेता सिंह काभ्रे। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सङ्घीय संसद्बाट एमसिसी अनुमोदन भइसकेको अवस्थामा सबै पार्टीले राष्ट्र र जनतालाई केन्द्रबिन्दुमा राखेर काम गर्नुपर्ने बताएका छन्। काभ्रेपलाञ्चोकको धुलिखेलमा आज आयोजना गरेको नेपाली कांग्रेस काठमाडौँ जिल्ला कार्यसमितिको ५०औँ बैठकमा उनले अरु पार्टीमा जस्तो कांग्रेसभित्र कसैको फरक मत नरहेको जनाए। आम नेपाली जनताको चाहनाअनुसार सबै दलले राष्ट्र र जनतालाई केन्द्रमा राखेर राष्ट्र र जनताको हित हुनेगरी राष्ट्रिय सहमतिको वातावरण बनाएर अगाडि बढ्नुको विकल्प नभएको उनले बताए। नेपाली कांग्रेसले सहमतिमा नै संविधान जारी गरेजस्तै एमसिसीमा पनि विमती हुँदाहुँदै पनि सबैको सहमतिमा संसदबाट अनुमोदन गरेको प्रसङ्ग उल्लेख गरे । नेता सिंहले विपक्षी दल नेकपा (एमाले)ले पनि समझदारीका आधारमा जिम्मेवार राजनीति गर्नुपर्ने उल्लेख गरे। नेता सिंहले राष्ट्रलाई हित हुने खालका काममा दाता राष्ट्रसँग अनुदान लिएर राष्ट्रिय सहमतिमा नै विकास निर्माणका काममा ध्यान दिनुपर्ने धारणा राखे । त्यस्तै उनले निर्वाचनको मिति तोकिसकेका कारण निष्पक्ष र धाँधलीरहित ढङ्गले निर्वाचन सम्पन्न गर्ने दायित्व सरकारको भएको भन्दै कांग्रेस नेतृत्वको सरकारले यो कार्य सफलतापूर्वक गर्नेमा आफू विश्वस्त रहेको बताए।
गृहमन्त्री खाँणसँग अमेरिकी राजदूत बेरीको शिष्टाचार भेट काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणसँग नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी बेरीले शिष्टाचार भेट गर्नुभएको छ । गृह मन्त्रालयमा आज उहाँहरुबीच भएको भेटमा दुई देशबीचको सम्बन्ध तथा अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सदनबाट अनुमोदन विषयमा केन्द्रित रही छलफल भएको थियो । सो अवसरमा गृहमन्त्री खाँणले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयन गरी अघि बढाउने सन्दर्भमा राजदूत बेरी र अमेरिकी सरकारको साथ र सहयोगप्रति आभार व्यक्त गरे । गृहमन्त्री खाँणले प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी अनुमोदन गराउन सत्तामा हुँदा मात्र नभई प्रतिपक्षीमा हुँदासमेत दृढ र स्पष्ट विचार राख्दै आएको जानकारी गराएका थिए । “प्रधानमन्त्री देउवा एमसीसी पास गराउन दृढ हुनुहुन्थ्यो । उहाँ प्रतिपक्षमा रहँदा पनि एमसीसी पास गर्न स्पष्ट विचार राख्दै आउनुभएको हो”, सो अवसरमा गृहमन्त्री खाँणले भने, “सबै राजनीतिक दललाई साथमा लिएर अगाडि बढ्न र एमसीसीको विषयले वर्तमान सरकारलाई असर नगरोस् भन्नेमा प्रधानमन्त्री चिन्तित रहनुभएकाले सफलता प्राप्त भयो । सबै नेपाली जनता र नेपाल सरकार खुसी छौँ ।” गृहमन्त्री खाँणले नेपाल र अमेरिकाबीच रहँदै आएको सम्बन्ध अझै गाढा र सदभावपूर्ण रहोस् भन्नेमा नेपाल सरकार रहेको विषय बताउनुभएको मन्त्री खाँणका प्रेस संयोजक मधुसुधन भट्टराईले जानकारी दिए । राजदूत बेरीले प्रधानमन्त्री, नेपाल सरकार र राजनीतिक दलको स्पष्ट भूमिकाले एमसीसी अनुमोदन भएको जनाउँदै प्रतिनिधिसभाको व्याख्यात्मक घोषणामा आफूले पहिल्यैदेखि भन्दै आएका विषय समेटिएको राजदूत बेरीले बताए । उनले भने, “एमसीसीबारे सरकार र प्रतिनिधिसभाको व्याख्यात्मक घोषणाबारे हामी पहिल्यैदेखि जानकार थियौँ । व्याख्यात्मक घोषणामा हामीले भन्दै आएका विषय समेटिएका छन् ।” शरणार्थीलाई कोभिड–१९ विरुद्धको खोप दिने सरकारको निर्णय प्रशंसनीय भएको बताउँदै नेपालको विकास, समृद्धि र शान्तिमा अमेरिका सधैँ साथमा रहने विश्वास व्यक्त गर्नुभयो ।
राप्रपा नेपालमा १६ जना पदाधिकारी मनोनीत काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालमा १६ जना पदाधिकारी मनोनीत भएका छन् । अध्यक्ष थापाले पार्टी विधानअनुसार १६ जनालाई केन्द्रीय पदाधिकारीमा मनोनीत गरेको सो पार्टीका प्रवक्त सुरेश आचार्यले जानकारी दिए । राप्रपा परित्याग गरी लाक्पा तामाङले गठन गरेको राप्रपा नेपालको नेतृत्व सम्हालेका अध्यक्ष थापाले ६ जना उपाध्यक्ष, चार जना महामन्त्री र ६ जना सहायक महामन्त्रीमा १६ जनालाई मनोनयन गरेका हुन् । प्रवक्ता आचार्यका अनुसार उपाध्यक्षमा राजीब पराजुली, उद्धव पौडेल, जयकुमार खड्का, राजेन्द्र वीर राय, डा। विष्णु भण्डारी र लाक्पा तामाङ तथा महामन्त्रीमा भाष्कर भद्रा, सुशील श्रेष्ठ, इन्द्र चित्रकार र राजाराम बर्तौला छन् । यसैगरी सहायक महामन्त्री हरिकृष्ण श्रेष्ठ, धरम गुरुङ, अम्बिका प्रसाद ढकाल, शिवकुमार बास्तोला, ममता राई र शशिरञ्जन यादवलाई मनोनयन गरिएको प्रवक्ता सुरेश आचार्यले जानकारी दिए । मनोनीतमध्ये अधिकांश राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाका नेता छन् ।
कालीगण्डकी करिडोरको बागलुङखण्ड कालोपत्रको पर्खाइमा बागलुङ । दश मिटर चौडा भएको राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बागलुङखण्ड बजेट अभावमा कालोपत्र  रोकिएको छ । बागलुङको मालढुङ्गादेखि जैमिनी नगरपालिका–८ छिस्तीको पालुङ्खोलासम्म ४८ किमी खण्डको वातावरणीय परीक्षण र विस्तृत परियोजना प्रतिवेदनसमेत तयार भइसकेको छ । करिडोर सडक आयोजना कार्यालयका अनुसार काम सबै सकिए पनि योजना आयोग र अर्थमन्त्रालयले बजेटको व्यवस्था नगरेका कारण काम रोकिएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बहुवर्षे आयोजनका रुपमा छिस्तीको अदुवाबारीदेखि बागलुङको बलेवा विमानस्थलसम्म २० किलोमिटर खण्ड कालोपत्रका लागि बजेटको व्यवस्था गरिदिन माग गर्दै अर्थ मन्त्रालय र योजना आयोगलाई पत्राचार गरेको थियो ।सम्बद्ध मन्त्रालयले मागे बमोजिमको बजेट उपलब्ध नगराउँदा उक्त खण्डको काम अल्झिएको हो “निर्वाचनका कारण बजेको अभाव हुनसक्ने सङ्केत प्राप्त भएको छ, स्रोत सुनिश्चित् नभएमा ठेक्का प्रक्रियामा जान अर्को वर्ष कुर्नुपर्छ”, करिडोर आयोजना कार्यालयका सूचना अधिकारी सरोज ढकालले भने। मन्त्रालयको पत्राचारपछि सडक कालोपत्र हुने आशामा रहेका सर्वसाधारण अहिले निराश भएका छन् । चीन र भारत जोड्ने सबैभन्दा छोटो मार्गको रुपमा लिइने करिडोरको तत्काल कालोपत्र थाल्नुपर्ने जैमिनी–७ जैदीका विष्णुराज पौडेलले बताए । यो खण्डको काम समयमै सुरु नभएमा ठाउँ ठाउँमा पहिरो जाने समस्या आउदो वर्षायाममा समेत व्यहोर्नु पर्नेमा स्थानीयवासी चिन्तित छन् । डिपिआर अनुसारका संरचना निर्माण भए पहिरोको जोखिम कम हुने र सडक नै बन्द हुने अवस्था नआउनेमा स्थानीयवासी आशावादी थिए । उक्त खण्ड कालोपत्रका लागि मन्त्रालयले रु एक अर्ब, ६८ करोड ८८ लाख ३० लाख १३० बजेट माग गरेको थियो । बागलुङ कुश्मीशेरा सडकको बागलुङ नगरपालिका–१० गलुवामा गत असार १ गते खसेको पहिरो रोकथाम तथा सडक मर्मतको कामका लागि स्रोत सुनिश्चित नहुँदा यो वर्ष काम नहुने भएको हो । यो पहिरो व्यवस्थापन गर्न मन्त्रालयले रु एक करोड १७ लाख थप बजेट माग गरेको थियो ।यो पहिरो व्यवस्थापनका लागि स्थानीय स्रोत कम हुने भएकाले केन्द्र र प्रदेश सरकारको ध्यानाकर्षण गराइएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए । गत वर्षको वर्षामा यो पहिरोका कारण जिल्लाको दक्षिण जोड्ने सडक तीन महिना बन्द भएको थियो । हिउँदका समयमा पानी पर्दा पनि पहिरो झर्ने गरेकाले आउँदो वर्षामा पनि पहिरो झरेर सडक अवरुद्ध हुने स्थानीयवासी बताउछन् ।
युक्रेनमा रहेका नेपालीलाई धैर्य गर्न गैरआवासीय नेपाली संघको आग्रह काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)ले युक्रेनमा रहेका नेपालीलाई धैर्य गर्न आग्रह गरेको छ । ‘अझै पनि केही साथीहरु युक्रेनपट्टिको समस्याका कारण पोल्याण्ड प्रवेश गर्न सक्नुभएको छैन । हामीले उहाँहरुलाई सुरक्षित रुपमा पोल्याण्ड प्रवेश गराउने कोशिस जारी राखेका छौं,’ एनआरएनएका अध्यक्ष कुमार पन्तले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । युद्धका कारण युक्रेन छोडेर सीमावर्ती देश प्रवेश गर्ने नेपालीहरुको अवस्था बुझ्न पन्त अहिले युक्रेन र पोल्याण्डको सीमा–नाका मेडिकामा पुगेका छन् । सीमामा कूटनीतिक सहजीकरण कसरी गर्न सकिन्छ भन्नेबारे जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्कासँग छलफल भइरहेको समेत उनले जनाएका छन् । ‘यस युद्धको कठिन घडीमा चाहँदाचाहँदै पनि कतिपय विषय भनेजसरी अघि बढ्न सकिरहेको छैन । हामीले प्रयास जारी राखेकाले केही समय धैर्य गर्न म युक्रेनपट्टि रहनुभएका साथीहरुलाई आग्रह गर्दछु,’ अध्यक्ष पन्तले भने । सोमबार सिमानामा रहेका नेपालीमध्ये करिब ५० प्रतिशत लाई रेल र बस मार्फत गन्तव्यतर्फ पठाइएको उनले बताएका छन् । ‘अहिले मुख्य गरी युक्रेनी सीमा पार गर्न र पोल्याण्ड प्रवेश गरेकालाई अन्य सहरमा लगेर राख्न सहजीकरण आवश्यक परेकाले त्यस कार्यमा म सक्रिय रुपमा लागिरहेको छु । यहाँहरु सबैको रचनात्मक सहयोगको अपेक्षासहित समस्यामा रहनुभएकाहरुको सक्दो चाँडो उद्धार हुनेछ भन्ने विश्वास दिलाउन चाहन्छु,’ उनले भनेका छन् ।
युक्रेनबाट हिँडेर पोल्याण्डको सिमानामा पुगे नेपाली नागरिक (भिडियाे) पाेल्याण्ड । अहिले रुस र युक्रेनबीच युद्ध चलिरहेको छ । यो युद्धले गर्दा युक्रेनीले मात्र नभएर युक्रेनमा बसोबास गर्ने नेपाली नागरिकहरुले पनि दुख पाएका छन्। युक्रेनमा भइरहेको युद्धले  युक्रेन छोडेर पोल्याण्डको सिमाना पुगेका नेपालीहरुको अवस्था बुझ्न गैर  आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त पोल्याण्डको सिमानामा पुगेका छन्। पोल्याण्डको बोर्डरमा अलपत्र परेका नेपालीहरुलाई सहयोग गर्न अध्यक्ष पन्त पोल्याण्डको सिमानामा पुगेका हुन्। जर्मनीबाट करिव १२ सय ५० किलोमिटरको यात्रा गरेर नेपालीहरुलाई सहयोग गर्न अध्यक्ष पन्त पोल्याण्डको सिमानामा पुगेका हुन्। पोल्याण्डको सिमानामा पुगेपछि पोल्याण्डमा राखिएका सिविरमा धेरै दिनदेखि हिँडेर आएका नेपालीको खुट्टा सुनिएकाे छ। उनीहरु सयौं किलोमिटर हिँडेर युक्रेनबाट पोल्याण्डको सिमाना पुगेका हुन्। पोल्याण्डको सिमाना पुगेपछि एक नेपालीले भने,’यो सबै रसियाको कारणले भएको हो। रसियाले बम पड्काएको हुनाले युक्रेन छोड्नु परेको हो। ‘  युक्रेनमा बम पड्केको दिनदेखि दुई दिन हिंडेर पोल्याण्डको सिमाना पुगेको उनले बताए। युक्रेनको सिमानामा बिदेशी नागरिकले सीमा पर गर्न कठिन रहेको पनि बताए। युक्रेनको सिमानामा बालबालिका, बृद्ध, युवती र त्यस देशका नागरिकहरुलाई पहिलो प्राथमिकतामा सिमा पर गराए। नेपाली र अन्य देशका नागरिकहरुलाई सिमा क्षेत्रमा कडाई गरिएको पनि एक नेपालीले बताए। युक्रनबाट दुइ दिनदेखी हिंडेर आएको हुनाले आफुसँग भएको रकम सकिएको र त्यहाँ बसोबास गर्न रकम जुटाउनु पर्ने समस्या रहेको छ । २-३ सय माथि नै नेपालीहरु युक्रेन छोडेको अवस्थामा रहेको एक नेपालीले बताए। युक्रनमा कति नेपाली छन् भन्ने  एकिन तथ्यांक एनआरएनए र सरकारी निकाय संग पनि छैन । सरकारी निकायले अनुमानको भरमा ४ सय नेपाली युक्रेनमा हुन सक्ने बताएका छन्। नेपालीहरु युक्रेन छोडेर पोल्याण्डको सिमाना आएको दिनदेखि त्यहाँ भएका संघ संस्था लागि परेको नेपाली नागरिक आशिष श्रेष्ठले बताए। अहिले नेपाली जनसम्पर्क समिति पोल्याण्ड त्यहाँ आएका नेपालीहरुलाई आवश्यक कुराको व्यवस्था गर्न निरन्तर रुपमा लागि परेको  श्रेष्ठले बताए। अहिले पोल्याण्डमा आएका नेपालीहरुलाई त्यस क्षेत्रमा बसोबास गर्न बासस्थानको समस्या, भाषाको समस्या र अधिकांश विद्यार्थीहरु ट्रान्जिक भिसामा आएको हुनाले पैसाको समस्या देखिएको उनले बताए। उनले भने,’अहिले सबै भन्दा बढी समस्या स्रोत र साधन रहेको छ । स्रोत फाइनान्सियल कसले गर्ने र कति सम्म गर्ने।  दोस्रो कुरा भने साधन बस्ने स्थान रहेको छ।’ पोल्याण्डमा विश्वास गरेर युक्रेनबाट आएका नेपाली नागरिकलाई कसले राख्ने रहेको उनले बताए। यो दुई समस्या तत्कालीन रुपमा समाधान गर्न सके भविष्यमा पोल्याण्डमा यस्तो समस्या पर्न नसकने उनले बताए। पोल्याण्ड युक्रेन भन्दा हरेक कुरामा सबल रहेको पनि बताए। भिडियाे
एमसीसी अनुमोदनसँगै गठबन्धन र सरकार टिकिरहने निश्चित भयो : प्रचण्ड काठमाडौं । माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी सम्झौता अनुमोदन भएसँगै सत्तारुढ गठबन्धन र वर्तमान सरकार टिकिरहने निश्चित भएको बताएका छन् । खुमलटारस्थित आफ्नै निजी निवासमा सोमबार अपरान्ह पत्रकार सम्मेलन गरेर अध्यक्ष प्रचण्डले आइतबार संसदबाट एमसीसी सम्झौता अनुमोदन भएसँगै सत्तारुढ गठबन्धन र सरकार आगामी निर्वाचनसम्म रहिरहने बताएका हुन् । ‘अस्तिसम्म यो गठबन्धन रहला या नरहला र वर्तमान सरकार पनि रहला कि नरहला भन्ने थियो,’ उनले भने, ‘संसदबाट एमसीसी सम्झौता अनुमोदन गरेपछि गठबन्धन र सरकार टिकिरहने निश्चित भएको छ ।’ एमसीसी सम्झौता अनुमोदनसँगै आगामी निर्वाचन पनि सुनिश्चित गरेको दाबी गर्दै प्रचण्डले एमसीसी सम्झौतामा केही गम्भीर विषय रहेको र संशोधन गरेर अनुमोदन गर्नुपर्ने आवाज आफूले उठाउँदै आएको बताए । साविक नेकपाका बेला आफूले संशोधन र परिमार्जन नगरी एमसीसी अनुमोदन गर्न हुँदैन बताएपछि फरक ढंगबाट बहस सृजना भएको प्रचण्डको भनाइ छ । केही विवादित विषयलाई स्पष्ट पारेर व्याख्यात्मक घोषणा जारी गरेर एमसीसी अनुमोदन गरिएको बताएका उनले तत्कालीन विपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवाको असहमतिका कारण एमसीसी अनुमोदनमा ढिलाइ भएको बताए । समाज नै विभाजित हुने गरी विवाद सृजना भएको विषयमा राष्ट्रिय सहमति कायम गरेर अनुमोदन गर्नुपर्ने बताउँदै जानकारी दिएका उनले आफ्नैै सल्लाहमा प्रधानमन्न्त्री शेरबहादुर देउवालाई एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट गएको बताए ।
वडाध्यक्ष आलेको भिरबाट खसेर मृत्यु, गाउँपालिकामा शोक बिदा तनहुँ । देवघाट गाउँपालिका–३ का तनहुँका वडाध्यक्ष कीर्तिमान आलेको भिरबाट खसेर मृत्यु भएको छ । वडा कार्यालयबाट घर फर्किने क्रममा भिरबाट खसेर वडाध्यक्ष आलेको मृत्यु भएको प्रहरीले जनाएको छ । बिहीबार वडा कार्यालय सकेर घर फर्किंदै गरेका आलेको भिरबाट खसेको अवस्थामा आज शव फेला परेको इलाका प्रहरी कार्यालय देवघाटका प्रहरी नायब निरीक्षक एकनारायण पोख्रेलले जानकारी दिए । उनका अनुसार वडाध्यक्ष शवको भिरबाट तल ३०र४० मिटर तल खसेको थियो । वडाध्यक्ष आले बिहीबारदेखि घर नफर्किएको परिवारलाई उद्धृत गर्दै प्रहरी नायब निरीक्षक पोख्रेलले बताए । “वडा कार्यालयबाट निस्किए पनि उहाँ बिहीबारदेखि घर पुग्नुभएको रहेनछ, आज भिरबाट लडेको अवस्थामा शव भेटियो,” उनले भने । उनका अनुसार शवको मुचुल्का गरेर शवपरीक्षणका लागि दमौली अस्पताल पठाउने तयारी गरिएको छ । वडाध्यक्ष थापा २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए । वडाध्यक्षको निधनमा गाउँपालिकामा शोक बिदा तनहुँको देवघाट गाउँपालिकाले वडा नं ३ का वडाध्यक्ष एवं कार्यपालिका सदस्य कीर्तिमान आलेको निधनमा शोक बिदा दिने निर्णय गरेको छ । वडा कार्यालयबाट घर फर्किने क्रममा भिरबाट लडेर मृत्यु भएका आलेको शोकमा गाउँपालिकाले फागुन १६ गते शोक बिदा दिने निर्णय गरेको हो । गाउँपालिका अध्यक्षस्तरीय निर्णयबाट शोक बिदा दिने निर्णय भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दप्रसाद पौडेलले जानकारी दिए । उक्त दिन गाउँपालिकाको कार्यालय र अन्तर्गतका कार्यालय बन्द रहने गाउँपालिकाले जनाएको छ ।
चितुवाको छालासहित तीन पक्राउ बाँके । बाँकेको बैजनाथ गाउँपालिकामा चितुवाको छालासहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । बैजनाथ गाउँपालिका–५ बाट चितुवाको छालासहित स्थानीय यमबहादुर विश्वकर्मा तथा बर्दियाको मधुवन नगरपालिकाका आकाश परियार र लालबहादुर विकलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए। उहाँका अनुसार, पैदल हिँडिरहेका उनीहरुलाई शङ्का लागेपछि जाँच गर्दा चितुवाको छाला भेटिएको हो । उनीहरुलाई इलाका प्रहरी कार्यालय कोहलपुरमा राखेर थप अनुसन्धान भइरहेको छ ।
मन्त्रिपरिषद्ले पारित गरेको एमसीसीको १२ बुँदे व्याख्यात्मक घोषणा यस्तो छ काठमाडौं । सरकारले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौताको व्याख्यात्मक टिप्पणी पास गरेको छ। आइतबार साँझ बसेको मन्त्रिपरिषद्ले सत्तारुढ गठबन्धनले तयार पारेको एमसीसीको व्याख्यात्मक टिप्पणी पारित गरेको छ। संसद भवनमै बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले एमसीसीको व्याख्यात्मक टिप्पणी पास गरेको हो । एमसीसीको व्याख्यात्मक टिप्पणीमा सहमति भएसँगै सत्तारुढ गठबन्धनका नेपाली कांग्रेससँगै नेकपा मा‌ओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एमसीसीका पक्षमा मतदान गर्ने भएका छन् । तर गठबन्धनकै कतिपय नेताले एमसीसीको पक्षमा मतदान गर्न नसकिने बताएका छन् ।
प्रतिनिधि सभाको आगामी बैठक बुधबार बस्ने आइतबार दुईवटा बैठक बसेको थियो । दोस्रो बैठकले अमेरिकी सहयोग सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) र त्यसमाथिको व्याख्यात्मक घोषणा अनुमोदन गरेको थियो । सभामुख सापकोटाले आगामी बैठक १८ गते दिउँसो १ बजेका लागि बोलाएका हुन् ।
प्राध्यापक खत्री अमेरिकाका लागि राजदूत नियुक्त काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्राध्यापक श्रीधर खत्रीलाई संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरे िछिन् । नेपालको संविधानको धारा २८२ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा उनले प्राध्यापक खत्रीलाई राजदूत पदमा आज नियुक्त गरेकि हुन् । मन्त्रिपरिषद्को गत कात्तिक ११ गतेको बैठकले प्राध्यापक खत्रीलाई अमेरिकाका लागि राजदूतमा नियुक्त गर्न सिफारिस गरेको थियो । नव नियुक्त राजदूत खत्री परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका पूर्वकार्यकारी निर्देशक हुन् ।
उपत्यकामा एकैदिन १३ सय ९६ जना चालकमाथि कारवाही काठमाडौं। ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार ३९६ जना चालकमाथि कारवाहीग गरेको छ । शनिबार काठमाडौं उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ । कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने ७५ जना, मदिरा पिएर सवारी साधन चलाउने ५७ जना र जथाभावी यात्रु चढाउने तथा ओराल्ने ५४ जना रहेका छन् । यस्तै, रातो बत्तीको उल्लङ्घन गर्ने ४७ जना, ढोका खुल्लै राखेर सवारी चलाउने ४० जना, अवस्था ठिक नभएको सवारी साधन चलाउने २२ जना र क्षमता भन्दा बढी यात्रु राख्ने २० जना चालकमाथि कारवाही गरिएको ट्राफिक प्रहरीले जनाएका छ ।
विदेश जाने श्रमिकको पीसीआर परीक्षण निशुल्क काठमाडाैं। सरकारले वैदेशिक रोजगारीमा जाने सबै श्रमिकको कोरोना भाइरसको पीसीआर परीक्षण निशुल्क गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै निशुल्क पीसीआर परीक्षणको व्यवस्था गरेको हो । यसअघि सरकारी अस्पताल तथा प्रयोगशालामा पीसीआर परीक्षण गर्दा ८ सय रुपैयाँ शुल्क तिर्नुपर्ने हुन्थ्यो । अबदेखि सरकारी अन्तर्गतका शुक्रराज ट्रपिकल अस्पताल टेकु, वीर अस्पताल र केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाबाट बैदेशिक रोजगारीमा जाने सबै श्रमिकको पीसीआर परीक्षण निशुल्क हुनेछ । पीसीआर परीक्षण निशुल्क गर्न वैदेशिक रोजगारीमा जाने निश्चित भएको कागजात पेश गर्नुपर्नेछ । यसअघि सरकारले वैदेशिक रोजगारीमा जाने युवाका लागि कोरोनाविरुद्धको खोपको व्यवस्थापन गरेको थियो ।
कांग्रेस-एमाले नेताहरुबीच बालकोटमा छलफल सुरु काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच पुनः भेटवार्ता हुँदैछ । वार्ता अघि एमाले र कांग्रेसका नेताहरुबीच बालकोटमा वार्ता सुरु भएको छ । पछिल्लो राजनीतिक घटनाक्रम र संसदमा प्रस्ताव भएको अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा थप छलफल गर्ने गरी भेटवार्ता हुन लागेको हो । प्रधानमन्त्री देउवाले अध्यक्ष ओलीलाई उनकै निवास बालकोटमा भेट्ने कार्यक्रम तय भएको स्रोतको भनाइ छ । आजको वार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । कांग्रेसका तर्फबाट उपसभापति पूर्णवहादुर खड्का, महामन्त्री गगन थापा र ञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की लगायतका नेता बालकोट वार्तामा सहभागी छन् । एमालेका तर्फबाट वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, उपाध्यक्ष बिष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल पनि वार्तामा सहभागी छन् । तर प्रधानमन्त्री शेरबहादुर देउवा भने पुगेका छैनन् । केही दिनयता प्रधानमन्त्री देउवा र प्रमुख प्रतिपक्ष दलका नेता ओलीबीच पटकपटक भेटवार्ता भइरहेको छ । यसअघि भएका भेटवार्ताका विषयलाई निश्कर्षमा पुर्याउने गरी आज पुनः भेटघाट हुन लागेको जनाइएको छ ।
चितवनमा नयाँ प्रजातिको ‘सल्ने बगेडी’ चरा फेला चितवन  । जिल्लामा नयाँ प्रजातिको चरा फेला परेको छ । चितवन राष्ट्रिय निकुञ्जको कुमरोज मध्यवर्ती क्षेत्रस्थित शिव मन्दिर नजिकै सिसौको बोटमा सल्ने बगेडी चरा फेला परेको हो । नेपाल पक्षी विद् सङ्घ बागमतीका संयोजक वासु विडारीका अनुसार हिमाली क्षेत्रमा पाइने यो चरा चितवनमा पहिलो पटक भेटिएको हो । हिमाली क्षेत्रमा चिसो बढेको र खानाको अभाव भएपछि यहाँ झरेको हुनसक्ने संयोजक विडारीको भनाइ छ । बर्ड एजुकेशन सोसाइटी चितवनका पूर्वअध्यक्षसमेत रहेका विडारीका अनुसार फोटोग्राफर चूडामणि चौधरी र प्रेम बम्जनले तस्वीर खिचेर ल्याएपछि विज्ञ टोलीले हेरेर पहिचान गरिएको हो । यो चरा समुन्द्री सतहबाट दुई हजार ४४० देखि तीन हजार ५० मिटर उचाइमा पाइने गर्दछ । अनुगमनका क्रममा एक जोडी सल्ने बगेडी फेला परेको बर्ड एजुकेसन सोसाइटी चितवनका अध्यक्ष रमेश चौधरीले जानकारी दिए । नेपालमा १५ प्रजातिको बगेडी पाइने गरेकामा योसमेत चितवनमा मात्र १० प्रजातिको बगेडी पुगेको छ । लजालु स्वभावको यो चरा घाँसे मैदान र खेतबारीको वरिपरि पाइने गर्दछ । खासगरी यो चरा युरेपेली देशमा पाइने र नेपाललगायत एसियाको चीन, अफगानिस्तानमा पनि पाइने गरेको छ । यो नयाँ प्रजातिको बगेडी फेला परेपछि जिल्लामा ६५९ प्रजाति चरा पुगेको चौधरीले जानकारी दिनुभयो । चितवन राष्ट्रिय निकुञ्ज र आसपासको क्षेत्र चराका लागि उपयुक्त बासस्थान मानिन्छ । यहाँ वन्यजन्तुसँगै चरा अवलोकन गर्न पर्यटक आउने गर्दछन् ।
दुई अनलाइन कालोसूचीमा, विभिन्न मिडियाविरुद्ध १३२ वटा उजुरी काठमाडौं । प्रेस काउन्सिलले पत्रकारिताको आचारसंहिता प्रतिकूल हुने गरी समाचार सामग्री सम्प्रेषण गरेको भन्दै दुई अनलाइन समाचार पोर्टललाई कालोसूचीमा राखेको छ । काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालका अनुसार नेपाल आज डट कम र सगरमाथाखबर डट कमलाई कालोसूचीमा राखिएको छ । काउन्सिलले २०७८ साउनदेखि २०७८ फागुन १२ गतेसम्म विभिन्न मिडियाविरुद्ध १३२ वटा उजुरी परेका थिए । यस्तै, आठ वटा जनगुनासा दर्ता भएकामा हालसम्म ८१ उजुरी र चार वटा जनगुनासा फछ्र्योट भएका छन् । यस अवधिमा भएका १७१ वटा स्वअनुगमन सामग्रीमध्ये १४९ वटा फछ्र्योट भएका छन् । त्यस्तै, ४० उजुरी र ६८ स्वअनुगमनका आधारमा १०८ वटा दर्ता सूचीकरण नभएका बेवपोर्टल नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्था गरिएको छ । यसबीचमा दुई सञ्चारमाध्यम अवज्ञाकारी सूचीमा परेको प्रवक्ता खनालले जानकारी दिए । एकपक्षीयरूपमा सामग्री प्रकाशित गरेको, व्यक्तिगत चरित्र हत्या गरेको, पत्रकारिता न्यूनतम मूल्य, मान्यता, मर्यादा र सीमाभन्दा बाहिर गई पत्रकारिता पेसाको चरम दुरुपयोग गर्दै आएको देखिएको र ब्ल्याकमेलिङ गरी आफ्ना माग पूरा नभए बिनाआधार चरित्र हत्या गर्ने गरेको भनी मौखिम एवम् लिखित गुनासासमेत आएको थियो । काउन्सिलका अनुसार नेपाल आज डट कमले विगत दुई वर्षदेखि व्यक्तिगत जीवनमा आँच आउने गरी कार्यालयको ल्याण्डलाइनबाट पटक पटक फोन गरी हैरानी दिने गरेको आरोपसहित महिला पत्रकारबाट परेकासहित विभिन्न छ उजुरी र काउन्सिलको स्वअनुगमनबाट देखिएका आचारसंहिता उल्लङ्घनका विषयमा सम्बन्धित पक्षको भनाइलाई सम्बोधन गरी खण्डन तोडमरोड गरेर पुनःसमाचार बनाइ प्रकाशन गरेको पाइएको छ । उक्त समाचार अनलाइनले गलत र अपुष्ट स्रोतको हवाला दिँदै सिलसिलेवाररूपमा प्रायोजित एवं एकपक्षीय सामग्री सम्प्रेषण गर्ने गरेको, व्यक्तिगत चरित्रहत्या हुने प्रकारको पत्रकारिताको नयूनतम मूल्य, मान्यता, मर्यादा र सीमाभन्दा बाहिर गई पत्रकारिता पेसाको चरम दुरुपयोग गर्दै आएको देखिएको काउन्सिलले जनाएको छ ।
गठबन्धनका बारेमा कांग्रेस गम्भीर देखियोः प्रदीप ज्ञवाली काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले एमसीसी संसदबाट पारित गर्न सहयोग मागेको बताएका छन् । शुक्रबार साँझ बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासहितका कांग्रेस नेताहरुसँगको छलफलपछि सञ्चारकर्मीसँग प्रतिक्रियाँ दिँदै ज्ञवालीले आफूहरुले पूरानै कुरा राखेको बताए । एमालेलाई संसदमा बस्ने वातावरण बनाउन आफूहरुले कांग्रेससँग माग गरेको उनको भनाइ छ । लोकतन्त्रका लागि योगदान गरेका एमाले कांग्रेसको योगदान हिजो पनि भएको र आगामी दिनमा पनि कसरी अघि बढ्ने भन्नेबारे छलफल भएको उनले बताए । गठबन्धनमा समस्या देखिएको भन्दै उनले त्यसमा कांग्रेस गम्भीर देखिएको बताए ।
फेरि बालकोट पुगे देउवा काठमाडौं । एमसीसीका विषयमा अन्यौलता बढ्दै गएसँगै विभिन्न राजनीतिक दलका नेताहरूले छलफललाई तीव्रता दिन थालेका छन् । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न ओली निवास बालकोट पुगेका छन् । उनी पार्टी उपसभापति पूर्ण बहादुर खड्का, महामन्त्री गगन थापा र पार्टी नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई साथमा लिएर बालकोट पुगेका हुन् । दिनभर सत्ता गठबन्धनका नेताहरूसँग छलफल गरेका देउवा साझ ओलीलाई भेट्न बालकोट पुगेका हुन् । उनीहरूबीचको भेटमा एमसीसीका विषयमा छलफल हुने बताइएको छ । एमसीसीलाई जसरी पनि संसद्‍बाट अनुमोदन गर्ने पक्षमा रहेका देउवा सत्ता गठबन्धनको साथ नभए प्रमुख प्रतिपक्षीलाई भए पनि साथमा लिएर जाने मनस्थितिमा छन् ।
अभिनेत्री रश्मिका मन्डन्नाको फेसन र स्टाइलमा फ्यान फिदा एजेन्सी। आफ्नो उत्कृष्ट अभिनय र ग्ल्यामरस स्टाइलका लागि परिचित अभिनेत्री रश्मिका मन्डन्नालाई नेशनल क्रसको ट्याग दिईएको छ। फिल्म ‘पुष्पाः द राइज’को सफलतापछि उनको फ्यान फलोइङ निकै बढेको छ । सामाजिक सञ्जालमा उनको पछिल्लो तस्विरको प्रतिक्षामा फ्यानहरु छन्। यी सुन्दर अभिनेत्रीको भर्खरको तस्विरले सामाजिक सञ्जालमा आतंक मच्चाएको छ । थाई हाई स्लिट, कालो स्ट्र्यापलेस गाउनमा अभिनेत्रीको पछिल्लो लुकले साँच्चै ग्लैमरको नयाँ परिभाषा लेखिरहेको छ। कालो स्ट्र्यापलेस गाउनमा रश्मिकाको तस्बिर सामाजिक सञ्जालमा आगोझैँ फैलिरहेको छ । आफ्नो कपाल सिल्की राखेर र हाई हिल लगाएर यस लुकमा नायिकाले सबैको मन जितेकी छिन् । भारतीय पोशाकमा रश्मिका मन्डन्ना झनै सुन्दर देखिन्छिन् । हालै, नीलो रंगको लेहेंगाको साथ गहिरो घाँटीको ब्लाउज लगाएर आफ्नो इन्स्टाग्राममा फोटो सेयर गरेकी थिइन् । अभिनेत्रीले मनिष मल्होत्राले डिजाइन गरेको लेहेंगासँग सुनको झुम्का लगाएकी थिइन् र लुक पूरा गरिन्।
सञ्चालकद्वारा सहकारीका ६ करोड हिनामिना, ठगी कसुरमा अनुसन्धान सुरु काठमाडौं काठमाडौं को पुरानो बानेश्वरस्थित एक सहकारीका सञ्चालकले बचतकर्ताको रकम आफन्तको नाममा राखी हिनामिना गरेको पाइएको छ । उनीहरुले भरोसा नेपाल बहुउद्देश्यीय सहकारी संस्थामार्फत बचतकर्ताबाट उठाएको रकम आफ्ना परिवारका सदस्यका नाममा जम्मा गरी रकम दुरुपयोग गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइवीका प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए । रकम दुरुपयोग तथा हिनामिना गर्नेमा सहकारीका अध्यक्ष काठमाडौं महानगरपालिका–३० बस्ने वर्ष ४२ का सुरज बस्नेत र उपाध्यक्ष काठमाडौँ–१६ पकनाजोल बस्ने ५७ वर्षीय शिव पाण्डे रहेका छन् । उनीहरुलाई पक्राउ गरी अनुसन्धान थालिएको जनाइएको छ । सिआइवी प्रवक्ता महतोले भन, “निेक्षेपकर्ता सदस्यले बचत गरेको रकम सञ्चालकको मिलेमतोमा सहकारी खातामा नराखी आफ्नै परिवारका सदस्य र आफन्तका नाममा राखी रकम दुरुपयोग गरेको पाइएको छ, दुवैलाई पक्राउ गरी अनुसन्धान थालेका छौँ ।” उनीहरुले १५ जना निक्षेपकर्ताको रु छ करोड २५ लाख दुरुपयोग गरेको अनुसन्धानमा पाइएको छ । बचतकर्ताले भुक्तानी फिर्ता माग्दा सञ्चालकले नै सहकारी संस्थामा ताला लगाई फरार भएका थिए । सहकारी ठगी कार्यमा संलग्न रहेको भनी बचतकर्ताले दिएको जाहेरीका आधारमा सिआइवीको टोलीले उनीहरुलाई पक्राउ गरी अनुसन्धान थालेको हो । प्रहरीले अन्य बचतकर्ताले उक्त सहकारीबाट निक्षेप तथा ब्याज रकम नपाएको भए कानुनी कारबाहीका लागि जानकारी गराउनु ब्यूरोले अनुरोध गरेको छ ।