content
stringlengths
31
27.4k
७२ लाख रुपैयाँ अवैध रकमसहित बोर्डरबाट पक्राउ परे सुभाष नेपाल । स्रोत नखुलेको ७२ लाखसहित १ नेपाली पक्राउ परेका छन् । नेपाल–भारत सीमा सुनौलीबाट सिद्धार्थनगर नगरपालिका दयापथ बस्ने ३८ वर्षीय सुभाष सुनारलाई भारतीय सुरक्षाकर्मीले पक्राउ गरेको हो । भारतबाट नेपाल आउँदै गरेको अवस्थामा दशगजा क्षेत्रमा भारतीय सुरक्षाकर्मीले चेकजाँच गर्दा नगदसहित उनी पक्राउ परेका हुन् । सोमबार बिहान करिब १० बजे कारबाट नेपाल आउँदै गरेको अवस्थामा सीमा सुरक्षा बल एसएसबी र सुनौली पुलिसले गरेको संयुक्त चेकजाँचमा साथबाट नेपाली रुपैयाँ ७२ लाख ८० हजार बरामद गरेको सुनौली पुलिस चौकी इन्चार्ज दुर्गेशकुमार सिंहले बताए ।
३० हजार रुपैयाँ घुस लिएकी कम्प्युटर अधिकृतलाई भ्रष्टाचार मुद्दा काठमाडौं । सेवाग्राहीसँग रंगेहात घुस रकम सहित पक्राउ परेकी कार्यरत कम्प्युटर अधिकृत विन्दु श्रेष्ठ प्रधानविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । आन्तरिक राजस्व कार्यालय महाराजगञ्जमा कार्यरत उनले कम्प्युटर बिलिङ स्वीकृत गर्ने क्रममा उनले सेवाग्राहीसँग घुस मागेको सूचनापछि उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रंगेहात पक्राउ गरेको थियो । उनीविरुद्ध आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । बिलिङ स्वीकृत गर्ने क्रममा सेवाग्राहीसँग उनले ३० हजार रुपैयाँ मागेको उजुरीका आधारमा खटिएको अख्तियारको टोलीले गत साउन १८ गते प्रधानलाई पैसा लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
सबै सरकारी कर्मचारीले पुरा बाहुला भएको लुगा लगाउन मन्त्रालयको आग्रह ​​​​काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी कर्मचारी पुला बाहुला भएको लुगा लगाउन आग्रह गरेको छ । मुलुकभर फैलिएको डेंगुको प्रकोपबाट बच्न सबै कर्मचारीलाई यस्तो बताएको हो । जसअनुसार कर्मचारीहरुलाई कार्यालय समयमा पूरा बाहुला भएको पोसाक अनिवार्य लगाउन आग्रह गरेको छ । मन्त्रालयले नेपाल सरकारका सम्पूर्ण कर्मचारीहरु एवं सार्वजनिक, सामुदायिक र निजी क्षेत्रमा कार्यरत सम्पूर्ण कर्मचारीहरुमा यस्तो अनुरोध गरेको हो । मन्त्रालयका अनुसार डेंगु रोग लाग्न नदिन सबैभन्दा उत्तम उपाय भनेको लामखुट्टेको टोकाइबाट जोगिनु हो । प्रायः दिनको समय, विशेष गरी बिहान र बेलुकाको समयमा सक्रीय रहने एडिज जातको लामखुट्टेको टोकाईबाट डेंगु रोग लाग्ने हुनाले, डेंगु संक्रमणको जोखिम कम गर्न कार्यस्थल वरिपरि निरन्तर सफा राख्न र कार्यालय समयमा पूरा बाहुला भएको पोसाक अनिवार्य लगाउन मन्त्रालयले निर्देशन दिएको छ । नेपालमा हाल देखापरिरहेको डेंगु रोगको प्रकोपलाई मध्यनजर गर्दै यसको व्यवस्थापन र नियन्त्रण गर्ने विषयमा प्रतिकार्य योजना बनाई विभिन्न गतिविधि सञ्चालन गरिरहेको मन्त्रालयले जनाएको छ । डेंगुको बढ्दो संक्रमणलाई न्यूनीकरण गर्न प्रदेश, जिल्ला र स्थानीय तहसँगको समन्वयमा यो रोग सार्ने लामखुट्टेको लार्भा ‘खोज र नष्ट गर’ अभियानलाई तीव्र बनाइएको मन्त्रालयले उल्लेख गरेको छ ।
दिउँसै खुकुरी हान्दै हिँड्ने ब्लोन पक्राउ मकवानपुर । मकवानपुर प्रहरीले दिउँसै खुकुरी हान्दै हिँड्ने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौँडा–१२ सिक्रेनी बस्ने जोनसागर ब्लोन रहेका छन् । उनले सोही स्थानका २६ वर्षीय बिरन घिसिङलाई खुकुरी हानेको थियो । ब्लोनलाई प्रहरील आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको हो । जोनसागरले पुरानो रिसइविको कारण घर नजिकैको चौतारामा बिरनलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका थिए । ब्खुकुरी प्रहारबाट गम्भीर घाइते भएका बिरनलाई हेटौंडा अस्पताल हुँदै थप उपचारको लागि बिएण्डबी अस्पताल रिफर गरिएको छ ।
५४ जना प्रहरीलाई ट्राफिक नियन्त्रण तालिम काठमाडौं । ५४ जना प्रहरीे ट्राफिक नियन्त्रण तालिम लिएका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले तालिम १४४ औं समूह अन्तर्गत उनीहरुलाई उक्त तालिम प्रदान गरिएको हो । सोही कार्यालयमा सोमबार आयोजित तालिम समापन कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले तालिम समापन गर्दै प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरे। उक्त अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक भट्टले ट्राफिक प्रहरीले कानुन संम्मत ढंगले संयमित, धर्यवान र कर्तव्यनिष्ठ भएर तालिममा प्राप्त गरेको ज्ञान सिपलाई व्यवहारमा उतारी ट्राफिक व्यवस्थापनमा आफ्नो उत्कृष्ट योगदान दिनुपर्ने बताए। कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै गत साउन ३ गतेदेखि संचालित उक्त तालिममा प्रहरी हवल्दार ४ जना, प्रहरी सहायक हवल्दार ११ जना र प्रहरी जवान ३९ जना गरी जम्मा ५४ जना प्रशिक्षार्थीहरूले सफलतापूर्वक तालिम हासिल गरेको जानकारी दिए ।
१६ वर्ष अघि साथीको जन्मदिन मनाउदा परेको थियो फाईट, कतारबाट पक्राउ परे मगर काठमाडौं। काठमाडौं प्रहरीले ज्यान मार्ने उद्योगमा फरार रहेका एक जनालाई १६ वर्षपछि पक्राउ गरी जेल चलान गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले विसं २०६३ साउन २ गते काठमाडौं महानगरपालिका–३२ कोटेश्वर चोकमा मनोज खड्काको हत्यामा सङ्लग्न कुमार तामाङ भन्ने राजकुमार मगरलाई पक्राउ गरी आइतबार डिल्लीबजार कारागार चलान गरेको हो । साथीको जन्मदिन मनाउने क्रममा झगडा हुँदा विसं २०६३ साउन २ गते राति १० बजे गम्भीर घाइते भएका खड्काको भोलिपल्ट बिहान ५ बजे उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका मगरलाई जिल्ला अदालतको आदेशानुसार कारागार चलान गरेको जानकारी दिए। प्रवक्ता मैनालीका अनुसार कर्तव्य ज्यान मुद्दामा फरार रहेका मगरलाई विस २०७९ साउन ३० गते कतार प्रहरीको सहयोगमा पक्राउ गरी काठमाडौं ल्याइएको हो । जिल्ला अदालतको आदेश अनुसार मगरलाई आइतबार डिल्लीबजार कारागार चलान गरिएको प्रवक्ता मैनालीले बताए।
सार्वजनिक जग्गामा रहेको मञ्जुश्री पेट्रोल पम्प महानगरले गरायो बन्द {भिडियो} ललितपुर। ललितपुर महानगरपालिकाले लगनखेल बसपार्क नजिक सार्वजनिक जग्गामा रहेको मञ्जुश्री पेट्रोल पम्प बन्द गराएको छ । आइतबार महानगरको टोलीले केहि संरचना हटाई तारजाली लगाएर पम्प बन्द गराएको हो । सार्वजनिक जग्गामा रहेको उक्त पम्प खाली गर्न पटक पटक सूचना जारी गर्दा पनि नहटाएपछि महानगरले नै बन्द गराएको महानगरका प्रमुख चिरिबाबु महर्जनले जानकारी दिए । उनले महानगरभित्र रहेका अवैध संरचनाको शुभारम्भ गरिएको र अव महानगर कडा रुपमा प्रस्तुत हुने बताए । उनले आफुले पहिलो कार्यकालको दोश्रो बर्षदेखि नै अवैध संरचना अटाउने काम सुरु गरेको भन्दै ललितपुर महानगरमा बालेन साहको कामको कुनै प्रभाव नपरेको जिकिर गरे । यसअघि महानगरले लगनखेलस्थीत आफ्नै भवनमा रहेको अवैध संरचना पनि हटाएको थियो । भिडियो:
एलिजाबेथको निधनप्रति दुःख व्यक्त गर्दै राष्ट्रिय झण्डा आधा झुकाइने (भिडियो) काठमाडौं । सरकारले बेलायती महारानी एलिजाबेथको निधनप्रति दुःख व्यक्त गर्दै तीन दिन शोक मनाउने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आइतबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले शनिबारदेखि सोमबारसम्म शोक मनाउने निर्णय गरेको जानकारी दिए । उनले यस अवधिमा नेपालभरका सरकारी कार्यालयसहित विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने जानकारी दिए । एलिजाबेथको बिहीबार राती निधन भएको थियो । हेर्नुहोस् भिडियो: 
गायक सञ्जिव पराजुलीको ‘क्यार्ने हो’ सार्वजनिक, सिंगल शटमा खिचियो भिडियो काठमाडौं । विभिन्न लोकप्रिय गीतहरुका गायक सञ्जिव पराजुली नेपाली सांगीतिक क्षेत्रको स्थापित नाम हो । आफूले गाउने गीतमा केही पृथक शैलीको प्रयोग गर्न रुचाउने गायक पराजुलीले यसपटक आफ्नो गीत ‘क्यार्ने हो’ मा पनि केही नयाँ प्रयोग गरेका छन् । संगीतकार वसन्त सापकोटाको शब्द तथा संगीतमा तयार भएको यो नयाँ गीतको म्युजिक भिडियो बिहिवार साँझ सार्वजनिक भएको छ । गायक पराजुलीले लामो समय लगाएर तथा धेरै मेहनतपछि यो गीत तथा म्युजिक भिडियो तयार पारिएको बताएका छन् । राजन इशानको संगीत संयोजन रहेको यो गीतको म्युजिक भिडियोमा नौलो प्रयोग गरिएको गायक पराजुली बताउँछन् । राहुल शाहको अवधारणा, कोरियोग्राफी तथा निर्देशनमा बनेको उक्त गीतको म्युजिक भिडियो ‘वान शट’ मा छायांकन गरिएको छ । नेपाली म्युजिक भिडियोको इतिहासमा यो सम्भवतः पहिलो प्रयोग भएको गायक पराजुलीको भनाइ छ । भिडियोमा राहुल शाह, अलिशा शर्मा, युमी बलामी, भाइब एण्ड वेभ ग्रुप तथा नृत्य ट्रुप्स नेपालको अभिनय तथा नृत्य छ । सिंगल शट म्युजिक भिडियोको रुपमा सार्वजनिक गरिएको उक्त गीतको भिडियोमा पवन सुस्लिङको छायांकन तथा सम्पादन रहेको छ । गायक पराजुलीका यसअघिका ‘नाइँ मलाई थाहा छैन’, ‘कर्के नजर’, छैन मलाई पिर’ लगायतका दर्जनौ गीतले दर्शक श्रोताको मन जितिसकेको छ ।
१५ वर्षीया किशोरी अर्धचेत अवस्थामा भेटिईन्, सामूहिक बलात्कार भएको थियो कैलाली । कैलालीको घोडाघोडीमा एक १५ वर्षीया किशोरी अर्धचेत अबस्थामा भेटिएकी छ । उनीमाथि सामूहिक बलात्कार भएको बताईएको छ । घोडाघोडी नगरपालिका १ सुखडमा गौराको अवसरमा भइरहेको देउडा हेर्न गएकी किशोरीलाई चार जना युवकले बलात्कार गरेको खुलेको छ । ‘सानो काम छ भनेर एक युवकले लिएर गए । त्यसपछि अन्यलाई फोन गरेर बोलाए’ इलाका प्रहरी कार्यालय सुखडमा प्रमुख प्रहरी नायव उपरीक्षक लक्ष्मण शाहीले भने ‘त्यस पछि उनी बलात्कारको सिकार भइन् ।’ किशोरीलाई सँगै लिएर गएका युवकले किशोरीलाई जबरजस्ती मादक पदार्थ सेवन गराएको पनि प्रहरी अनुसन्धानबाट खुलेको छ । त्यसपछि उनले अन्यलाई बोलाएर रातभर बलात्कार गरेको प्रहरीले जनाएको छ । सानो काम छ भनेर लिएर गएको र त्यहाँ आफूलाई केही खुवाएर सामूहिक बलात्कार गरेको पीडित किशोरीलाई प्रहरीलाई बयान दिएकी छन् । २१ गते राति किशोरी सामूहिक बलात्कारको सिकार भएकी हुन् । बलात्कारपछि बेहोस किशोरी २२ गते दिउँसो होसमा आइन् । उनी त्यसपछि साथीको घरमा गइन् । २३ गते घर गएकी किशोरी घर पुगिसकेपछि पनि आफू बलात्कारको सिकार भएको कुरा अभिभावकलाई भन्न सकिनन् । २३ गते फेरी सुखड बजारमा अर्ध चेत अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । बेवारिसे अवस्थामा एक किशोरी केही समस्या रहेको जस्तो अवस्थामा प्रहरीले जानकारी पाएपछि उनलाई घोडाघोडी अस्पतालमा उपचार सुरु गरियो । राति २ बजे उनी होसमा आइन् । त्यसपछि ४ बजे प्रहरीले पीडित किशोरीको बयान लियो । प्रहरीसँग किशोरीले आफूमाथि सामूहिक बलात्कार भएको प्रहरीलाई भनिन् । प्रहरीले त्यस लगत्तै घटनामा संलग्नहरूको खोजी सुरु गरेको थियो । किशोरीको बयानको आधारमा हामीले तत्काल नै उनीहरूको खोजी सुरु गर्‍यौँ’ डिएसपी शाहीले भने, ‘२ जनालाई त बिस्तारा बाटै पक्राउ गरेका थियौँ ।’ अहिले सम्म प्रहरीले तीन जनालाई पक्राउ गरिसकेको छ । थप एक जना फरार रहेको र फरार भएका व्यक्तिको पनि खोजी भइरहेको उनले जानकारी दिए ।
राष्ट्रपति किमले घोषणा गरे उत्तर कोरियालाई परमाणु हतियार सम्पन्न देश काठमाडौं । उत्तर कोरियाका राष्ट्रपति किम जोङ उनले आफ्नो मुलुक परमाणु हतियार सम्पन्न देश भएको घोषणा गरेका छन् । यसका लागि उत्तर कोरियाले एक कानुन पास गरेको बीबीसीले जनाएको छ । उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसीएनएले यसबारेमा जानकारी दिएको खबरमा उल्लेख छ । उत्तर कोरियाका राष्ट्रपति किमले यो घोषणामा कुनै परिवर्तन नहुने बताएका छन् । उनले यसबारेमा कुनै पनि स्तरको वार्ताको सम्भावना नहुने पनि बताएको बीबीसीले जनाएको छ । यस कानुनका अनुसार उत्तर कोरियालाई आफ्नो रक्षाका लागि परमाणु हतियार प्रयोग गर्ने अधिकार हुनेछ । विभिन्न प्रतिबन्धका बाबजुद उत्तर कोरियाले सन् २००६ र २०१७ को बीचमा ६ परमाणु परीक्षण गरेको छ । संयुक्त राष्ट्र सुरक्षा परिषद्को कैयौँ प्रस्तावको बाबजुद उत्तर कोरियाले आफ्नो सैन्य क्षमता बढाएको छ । अमेरिकाका तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पसँग किम जोङको दुई पटक शिखर वार्ता भएको थियो तर कुनै नतिजा भने निस्किएन । त्यसपछि भने अमेरिका र उत्तर कोरियाबीच कुराकानी रोकिएको छ । यद्यपि जो बाइडन सरकारले उत्तर कोरियासँग वार्ता गर्न चाहेको सङ्केत दिएको थियो । तर राष्ट्रपति बाइडनले किम जोङ उनसँग भेट गर्ने नगर्ने भन्नेबारे स्पष्ट थिएन ।
सुन चोरीका आरोपी सरकारी वकिल कार्यालयबाटै फरार देउखुरी । सुन चोरीका आरोपी फरार भएका छन् । म्याद थपका लागि सरकारी वकिल कार्यालयबाट जिल्ला अदालत लैजाने तयारी रहेका अवस्थामा एकजना कैदीबन्दी बिहीबार वकिल कार्यालयबाट भागेका हुन्। घोराही उपमहानगरपालिका–१७ का २२ वर्षीय लक्ष्मण विश्वकर्मा शौचालय जाने निहुँमा बिहीबार भागेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजनकुमार गौतमले जानकारी दिए । उनले सरकारी वकिल कार्यालयको दोस्रो तल्लाबाट हामफालेर बन्दी भागेको जानकारी दिए । शौचालय गएका विश्वकर्मा धेरै समयसम्म पनि बाहिर नआएपछि ढोका फोरेर हेर्दा फेला नपरेको उनले बताए । “शौचालयको झ्याल हातले निकाल्न मिल्ने खालको रैछ निकालेर भागेछ”, उनले भने । म्याद थपका लागि अदालत लैजान कागजपत्र तयार गर्दै गर्दा सरकारी वकिल कार्यालयबाट बन्दी भागेको र खोजी भइरहेको प्रनाउ गौतमले बताए । विश्वकर्मालाई यही यही भदौ २२ मा प्रहरीले पक्राउ गरेको थियो ।
आइटी कम्पनीका सञ्चालक साइबर अपराध मुद्दामा पक्राउ काठमाडौं । साइबर अपराध मुद्धामा प्रहरीले ललितपुरबाट एक आइटी कम्पनीका सञ्चालकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–९ बत्तिसपुतलीका ५० वर्षीय प्रशन्न पोखरेल रहेका छन् । उनलाई साइबर ब्युरो कार्यालयले पक्राउ गरेको हो। उनी जिनिस सोलुसन कम्पनीका सञ्चालक हुन्। ब्यूरोले पोखरेललाई बुधबार झम्सिखेलबाट पक्राउ गरेको हो। ब्यूरोका अनुसार पोखरेलले कम्प्युटर सामग्रीमा अनधिकृत पहुँच पुर्‍याएर डाटा नष्ट गरी हानी नोक्सानी पुर्‍याउने गर्थे। जिनिस कम्पनीले सुन्दर ग्रुप अफ कम्पनी प्रालिलाई वेब पोर्टल र डेटालाई होस्टिङ सर्भिस लगायतको सुविधा प्रदान गर्दै आएको थियो। त्यसै क्रममा जिनिसले अनधिकृत रूपमा होस्टिङ अकाउन्टमा प्रवेश गरी डेटाहरू नष्ट गरेको हो। त्यसपछि सुन्दर ग्रुपले साइबर ब्युरोमा जाहेरी दिएको प्रहरीले जनाएको छ। अनुसन्धानका क्रममा पोखरेलको भूमिका शंकास्पद देखिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीमाथि जिल्ला अदालत काठमाडौंबाट तीन दिन म्याद थपेर अनुसन्धान भइरहेको जनाइएको छ।
ब्राउनसुगरसहित १ किशोर पक्राउ झापा । प्रहरीले विर्तामोड नगरपालिका–३ बाट प्रतिबन्धित लागूऔषधसहित १ जनालाई पक्राउ गरेको छ। हिजो बेलुका साढे ५ बजे प्रहरी चौकी विर्ताबजारबाट खटिएको प्रहरी टोलीले विर्तामोड५ का १९ वर्षीय कालु दासलाई पक्राउ गरेको हो। उनलाई शंका लागेर चेक जाँच गर्दा निजको साथबाट एक ग्राम ब्राउनसुगर बरामद गरेको थियो। प्रतिबन्‍धित ब्राउनसुगर बरामद भएसँगै दासको ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको छ।
कैलालीकी आस्था मोहना नदी किनारमा मृत फेला, चार दिनदेखि हराइरहेकी थिईन् कैलाली । धनगढी उपमहानगरपालिका–१३, मोहनपुरकी आस्था शर्मा मृत अवस्थामा फेला परेकी छिन्। उनको शव नेपाल–भारत सीमामा पर्ने त्रिनगर मोहना नदी किनारमा शुक्रबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी सोमेन्द्र राठौरले जानकारी दिए। उनी विगत चार दिनदेखि हराइरहेकी थिईन् । उनले लगाएको ट्र्याकको गोजीमा आस्था शर्मा लेखिएको कागज फेला परेको प्रहरीले बताएको छ। कागजमा कविता लेखिएको र कविताको अन्त्यमा आस्था शर्मा लेखिएको प्रहरीले जनाएको छ । गत सोमबार बिहान ‘स्कुल जान्छु’ भन्दै विद्यालयको पोसाकमा घरबाट निस्किएकी आस्था त्यसपछि सम्पर्कविहीन थिइन्। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ। उनका अनुसार शवको पोस्टमार्टम गर्ने तयारी गरिएको छ।
लाइसेन्स निकाल्न खेताला बनेकाहरु पक्राउ काठमाडौं । सवारीको लाइसेन्स निकाल्न खेताला बन्नेहरु पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुली दुधौली नगरपालिका–११ टाँडीका २० वर्षीय मनिष श्रेष्‍ठ, सिन्धुली दुधौली नगरपालिका–४ का २० वर्षीय मनिष लामिछाने, कालिकोट महाबई गाउँपालिका–१ का २४ वर्षीय ईन्द्रबहादुर शाही सिन्धुली दुधौली नगरपालिका– १४ का २१ वर्षीय टुल्कु सिं तामाङ र गोरखा भिमसेन स्थान गाँउपालिका–१ का २२ वर्षीय राजकुमार श्रीमल रहेका छन् । भक्तपुर मध्यपुर ठिमी नगरपलिका–५ राधे राधेस्थित ईजी वे ट्रायल सेन्टरबाट नक्कली नागरिकता र नक्कली प्रवेश पत्र बनाएर अन्य व्यक्तिहरूको ट्रायल दिने कार्यमा संलग्न हुँदै गर्दा प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिए । नक्कली नागरिकताहरु, पासपोर्ट, प्रवेश पत्रहरु, विभिन्न रसिद, ल्यापटप, नक्कली नागरिकता बनाउन प्रयोग गरिने कागजात र मोबाईल सहित नियन्त्रणमा लिइएको पाण्डेले बताए । उनीहरूलाई लिखत सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
क्रिकेटर सन्दीपविरुद्ध पक्राउ पूर्जी जारी काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध पक्राउ जारी भएको छ। उनलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौंले आज अनुमति दिएको छ। उनीविरुद्ध १ नाबालिक किशोरीमाथि बलात्कार गरेको आरोप लागेको छ। पीडित किशोरीले उनीविरुद्ध किटानी जाहेरी दिएकी छन्। त्यसबारे अनुसन्धानका लागि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतसँग अनुमति मागेको प्रहरी स्रोतले बताएको छ। प्रहरीले अदालतबाट अनुमति पाएसँगै अब प्रहरीले लामिछानेलाई कुनै पनि बेला पक्राउ गर्न सक्छ। नाबालिकलाई बलात्कार गरेको भन्दै मंगलबार साँझ गौशाला प्रहरी वृत्तमा लामिछानेविरुद्ध जाहेरी दर्ता भएको थियो। उनीमाथि १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेको छ। मंगलबार १७ वर्षीया ती किशोरीले प्रहरी वृत्त गौशालामा लामिछानेले होटलमा पुर्‍याएर आफूमाथि पटक–पटक बलात्कार गरेको भन्दै गौशाला प्रहरीमा जाहेरी दिएकी हुन्। सन्दीप भने यतिबेला क्यारेबियन प्रिमियर लिग खेल्न सेन्ट लुसियामा छन्।
पोखरा महानगरले चलायो आफ्नै भवनमा डोजर पाेखरा। पोखरा महानगरपालिकाले आफ्नो स्वामित्वमा रहेका दुईवटा भवनमा डोजर चलाएको छ। पोखरा-९ महेन्द्रपुलस्थित महानगरका भवन भत्काउन आज डोजर चलाइएको हो। महानगर प्रमुख धनराज आचार्य, वडानं ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानी सहित नगर प्रहरीसहितको टोलीले भवनका सटर भत्काउन सुरु गरेको हो। महेन्द्रपुलबाट रानीपौवा जाने सडकको वारिपारि रहेका सार्वजनिक पुस्तकालय र आर्ट ग्यालरी रहेका दुई तलाका भवन भत्काएर सार्वजनिक उद्यान बनाउने महानगरको योजना छ। महानगरले दिउँसो ट्राफिक जाम हुने भएकाले रातको समयमा भवन भत्काएर खाली गर्ने काम जारी रहने जनाएको छ। महानगरका यी दुई दुई भवन ४० वर्षअघि निर्माण गरिएका हुन्। भवनका तला–तलामा ३० सटर महानगरले भाडामा लगाए पनि नियमित भाडा नउठेको र बिचौलियाले फाइदा लिएको महानगरले जनाएको छ। भाडामा लगाइएका सटरलाई हट्न महानगरले सात दिनको दुईपटक र पुनः ३५ दिने सूचना दिएर आग्रह गरेको थियो। सूचनाको म्याद सकिएको भोलिपल्ट डोजर चलाउन सुरु गरिएको हो। वडाध्यक्ष मर्सानीले भवनमा व्यापार व्यवसाय गर्दै आएका व्यापारी र अन्य प्रयोजनका लागि बसेका सबैलाई त्यहाँबाट हट्न सार्वजनिक सूचना जारी प्रक्रिया पूरा गरेर भत्काउन सुरु गरिएको बताए। महानगरले भवन हटाएपछि भवनले चर्चेको जमिनमा सार्वजनिक पार्क र सार्वजनिक शौचालय निर्माण गर्ने योजना रहेको उनले सुनाए। उनले भने, “भवन हटाएपछि यसले चर्चेको जमिनमा पोखराको सौन्दर्य वृद्धि गर्ने गरी पार्क र सार्वजनिक शौचालय निर्माण गर्नेछौँ।” महानगरले पुस्तकालय र ग्यालरीका लागि भने पृथ्वीचोकस्थित साविकको ट्राफिक भवन भएको स्थलमा बन्ने भवनमा ठाउँ व्यवस्था गरिने जनाएको छ। पृथ्वीचोकमा भवनका लागि रु दुई करोड लागत अनुमान गरिएको छ। सो भवन दुई रोपनी जमिनमा बन्नेछ। पोखरा महानगरपालिकाले पछिल्ला केही दिनयता सार्वजनिक जमिनमा निर्माण गरिएको संरचना हटाउन सुरु गरेको छ। वडा कार्यालयले सूचना जारी गरी आ-आफ्नो क्षेत्रभित्र सार्वजनिक जमिन अतिक्रमण गरी बनाइएको संरचना भत्काएका हुन्। पोखरा-२५ हेमजाले राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्गमा सार्वजनिक जमिन अतिक्रमण गरी सडक मापदण्डभित्रका संरचना हटाउन सुरु गरेको सो वडाका वडाध्यक्ष एवं महानगरका प्रवक्ता मोतीराज तिमिल्सिनाले बताए। रासस
काठमाडौंमा मनी एक्सचेन्ज सञ्चालकका २० लाख लुटपाट काठमाडौं । काठमाडौंको म्हैपीमा १ मनी एक्सचेन्ज सञ्चालक लुटिएका छन् । गए राति मोटरसाइकलमा आएको अपरिचित समूहले मनी एक्सचेन्जका सञ्चालक प्रकाश श्रेष्ठको साथबाट २० लाख रुपैयाँ लुटेको प्रहरीले जनाएको छ । श्रेष्ठ ठमेलस्थित ओरेन्टल मनी एक्सचेन्जका सञ्चालन हुन् । घटनाबारे काठमाडौं प्रहरी परिसरले अनुसन्धान गरिरहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले जानकारी दिए ।
प्रहरीलाई घुस दिन खोजेपछि… काठमाडौं । प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेको आरोपमा १ युवक पक्राउ परेका छन्। प्रहरीले काठमाडौं कागेश्वरी मनहरा नगरपालिका–२ आलापोट बस्ने ३१ वर्षीय रोशन बस्नेतलाई बुधवार राति पक्राउ गरेको हो । मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थलीस्थित ड्युटीमा खटिएको प्रहरीले बा ८८ प ४७८५ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा चालक रोशनले मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको पाइएपछि उनलाई कारबाही गरिएको थियो । त्यसक्रममा प्रहरीलाई नगद ३ हजार ५० रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोजेपश्चात उक्त नगद र मोटरसाइकलसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
होटल सञ्चालकलाई फोन गरेरै सन्दिपले रुम बुक गरेका थिए काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले काठमाडौंको होटल सञ्चालकलाई नै फोन गरेर रुम बुक गरेको खुलेको छ । होस्टलमा बस्दै आएकी बालिकालाई राति अबेर पारेर सन्दिपले होटलमा लगेको बताईन्छ । पीडितको बयान अनुसार उनले दुईवटा कोठा बुक गर्न भनेकी थिइन् । तर लामिछानेले एउटा मात्र कोठा खाली भएको बताउँदै एउटैमा बस्नुपर्ने बताएका थिए । राति लामिछानेले मादक पदार्थ पनि सेवन गरेको समेत पीडितले भनेकी छिन् ।
मध्येरातमा होटल छिरेर ७ घन्टापछि निस्केका थिए सन्दीप काठमाडौं । बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने पीडित बालिकासहित ५ भदौमा राति अबेर होटल काठमाडौं इनमा पुगेको पाईएको छ । मंगलबार सन्दीपविरुद्ध बलात्कारको उजुरी परेपछि अनुसन्धान सुरु गरेको प्रहरीले सन्दीप उक्त होटलमा पुगेको पाईएको हो । होटल पुग्दा सेतो क्याप, सेतै जुत्ता र निलो टिशर्ट लगाएको सीसीटीभी फूटेजमा देखिएको छ । पीडित बालिका भने सेतो ज्याकेट, पहेँलो टिसर्ट र कालो जिन्स लगाएको देखिएको अनुसन्धानमा संलग्न प्रहरी स्रोतले जनाएको छ। ती प्रहरीका अनुसार सन्दीप र पीडित युवती उक्त होटलमा ५ भदौमा राती ११ बजेर ४५ मिनेट जाँदा पुगेको र करीब ७ घण्टा बसेर भदौ ६ गते बिहान ६ः४६ मिनेटमा होटलबाट बाहिरिएको देखिएको छ । प्रहरीले पीडितले बयानमा उल्लेख गरेको नगरकोटको रिसोर्टमा रहेको सीसीटीभी फूटेज पनि अनुसन्धान गरिरहेको छ । प्रहरीले जिल्ला अदालत काठमाडौंबाट पक्राउ पूर्जी लिने तयारी गरिरहेको जनाएको छ । जाहेरीमा १७ वर्षीया बालिकालाई लामिछानेले सिनामंगलस्थित होटल काठमाडौं इनको कोठा नम्बर ३०५ मा लगी रातभर पटक–पटक जबरजस्ती करणी गरेको उल्लेख छ ।
चीनमाथिको निर्भरता घटाउन अमेरिकाले लियो ठूलो कदम, ५० अर्ब डलर लगानी गर्ने निर्णय काठमाडौं । अमेरिकामा बाइडेनको सरकारले सेमीकन्डक्टर उद्योग (कम्प्युटर चिप्स) मा ५० अर्ब डलर लगानी गरेर यस क्षेत्रमा चीनमाथिको निर्भरता अन्त्य गर्ने बताएको छ । अमेरिकाले हाल सेमीकन्डक्टर उत्पादन गर्दैन। अमेरिका विश्वभर बन्ने चिप्सको ३० प्रतिशत उपभोक्ता हो । यी मध्ये धेरै इलेक्ट्रोनिक चिपहरू देशको सुरक्षाको लागि धेरै महत्त्वपूर्ण छन्। राष्ट्रपति जो बाइडेनले गत महिना उद्योगमा चीनको प्रभुत्वलाई चुनौती दिन २८० अर्ब डलरको चिप्स बिल अनुमोदन गरेका थिए। अमेरिकी वाणिज्य सचिव जीना रेमन्डोले पत्रकारहरूलाई बताएकी छिन् कि उनको विभागले कम्प्युटर चिप्स उद्योगमा ५० बिलियन डलर लगानी गर्नेछ। पछिल्लो एक वर्षमा अमेरिकामा कम्प्यूटर चिप्सको ठूलो अभाव थियो, जसले कार उद्योगलाई धेरै नोक्सान पुर्याएको थियो किनभने कारमा प्रयोग हुने चिपहरू पनि निकै छोटो भएका थिए। यसबाहेक चिप्सको अभावका कारण घरायसी सामानको उत्पादनमा पनि ठूलो असर परेको छ । अमेरिकी वाणिज्य सचिवले अमेरिकी अर्थतन्त्र र सेना कम्प्यूटर चिप्समा धेरै निर्भर रहेको र यस क्षेत्रमा लगानीले अमेरिकालाई भविष्यमा उत्पादनमा विश्वसँग प्रतिस्पर्धा गर्न सक्षम बनाउने बताइन् । अमेरिकी विदेशमन्त्री जीना रेमन्डोले भनिन्, “हामी सेमीकन्डक्टरहरूको पर्याप्त आपूर्ति सुनिश्चित गर्न चाहन्छौं। हामीले चिप्सको ३० प्रतिशत प्रयोग गर्छौं र १३ प्रतिशत मात्र उत्पादन गर्छौं। हामीले यसलाई परिवर्तन गर्नुपर्छ।” ताइवान मुद्दालाई लिएर हालैका महिनाहरूमा अमेरिका र चीनबीच तनाव उत्कर्षमा पुगेको छ। चीनले ताइवानलाई आफ्नो विद्रोही राष्ट्रको रूपमा लिन्छ र विश्वको कुनै पनि देशले ताइवानलाई स्वतन्त्र राष्ट्रको रूपमा व्यवहार गरेको चाहँदैन। ताइवान सेमीकन्डक्टर उद्योगको लागि सबैभन्दा ठूलो गन्तव्य हो। विश्वका दुई तिहाइ उन्नत सेमीकन्डक्टरहरू ताइवानमा बनेका छन्। सेमीकन्डक्टरहरूले मोबाइल फोन, पेसमेकरदेखि कार र सैन्य उपकरणहरूमा सबै कुरामा महत्त्वपूर्ण भूमिका खेल्छन्। यी बिना, कृत्रिम बुद्धिमत्ता र ड्रोन उद्योग पनि चल्न सक्दैन। धेरै अमेरिकी कम्पनीहरूले देश भित्र चिप्स डिजाइन गर्छन् तर एशिया, विशेष गरी ताइवानमा उत्पादन गर्छन्। न्यूयोर्क टाइम्समा प्रकाशित एक रिपोर्ट अनुसार यो प्रणाली जोखिमपूर्ण निर्भरताको कारण हो।
सन्दिप र पीडित बालिका सिनामंगलको होटल भित्र पसेको फुटेजमा देखियो काठमाडौं । नाबालिग बालिकामाथि जबरजस्ती करणी गरेको भन्दै क्रिकेटर सन्दीप लामिछाने विरुद्ध गौशाला प्रहरीमा उजुरी परेको छ । बालिकाले दिएको जाहेरी अनुसार ५ भदौमा सिनामंगलको होटल इनमा राति जबरजस्ती बलात्कार गरेको भनिएको छ । प्रहरीले विस्तृत अनुसन्धान थालेको छ । प्रहरीले प्रमाण संकलनका क्रममा होटल इनको सिसिक्यामेरा फुटेजको जाँच गरेको प्रहरी स्रोतले बतायो । उक्त दिन लामिछाने र पीडित बालिका होटलभित्र छिरेको फुतेजमा देखिएको प्रहरीले बताएको छ । पीडित बालिकालाई त्यहाँ लगेर लामिछानेले पटक पटक बलात्कार गरेको आरोप लगाएकी छन्। प्रहरीले उक्त फुटेजको अनुसन्धान समेत थालेको छ। पीडितसँग लामिछाने गत भदौ ५ गते भक्तपुर घुम्न गएका थिए। सोही रात आफूमाथि लामिछानेले बलात्कार गरेको जाहेरीमा किशोरीले उल्लेख गरेकी छन्।सन्दीप र ती किशोरी गत भदौ १ गते पनि नगरकोट घुम्न गएको खुलेको छ। नगरकोटको होटलमा पनि बलात्कार भएको पाईएपछि त्यहाँको सिसिक्यामेरा फुटेज संकलन गर्न प्रहरी पठाइएको प्रहरी स्रोतले बताएको छ। भिडियो हेर्नुहोस्:
प्रहरीले भन्योः सन्दिपले पटक-पटक बलात्कार गर्ने होटलको कोठा नम्बर ३०५ काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका क्याप्टेन सन्दीप लामिछानेविरुद्ध दर्ता भएको बलात्कारको जाहेरीबारे प्रहरीले विज्ञप्ति सार्वजनिक गर्दै जानकारी दिएको छ। विज्ञप्तिमा काठमाडौं र भक्तपुरको विभिन्न स्थानमा लगेर काठमाडौं ल्याई सिनामंगलको होटल काठमाडौं इनको कोठा नम्बर ३०५ मा भदौ ५ गते बेलुका ११ः५५ र १२ः२५ बजे बलात्कार गरेको जाहेरी परेको उल्लेख छ। विज्ञप्तिमा जाहेरी दरखास्त दर्ता गरी पीडितलाई एकद्वार सङ्कट व्यवस्थापन केन्द्रमा लगी विस्तृत स्वास्थ्य परीक्षण गराइएको उल्लेख छ। विज्ञप्ति अनुसार अनुसन्धानका विविध विधि र प्रविधि प्रयोग गरी जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीद्वारा घटनामा सुक्ष्मरुपमा थप अनुसन्धान भइरहेको उल्लेख छ। हेर्नुहोस् भिडियो: 
क्लोज क्याम्प सकेपछि पीडितलाई लिएर घुम्न निस्केका थिए लामिछाने काठमाडौं। भदौ ५ गते अघि कप्तान सन्दीप लामिछाने नेपाली राष्ट्रिय क्रिकेट टिमको क्लोज क्याम्पमा थिए । ६ भदौमा टिम पाँच खेलको टी–२० क्रिकेट सिरिज र एकदिवसीय अभ्यास खेल खेल्नका लागि भनेर क्लोज क्याम्पमा राखेको थियो। सबै खेलाडीले भदौ ४ गतेसम्म अभ्यास गरेका थिए । तर नेपाल क्रिकेट संघ (क्यान) ले एक दिनअघि भदौ ५ गते उपत्यकामा घर भएका खेलाडीलाई तयारीको लागि क्लोज क्याम्पबाट घर पठाएको थियो । उनी घर जानुको सट्टा पीडित बालिकालाई लिएर भक्तपुर घुम्न निस्केका थिए। राति अबेरसम्म भक्तपुर घुमेर काठमाडौं फर्केका थिए । राति अबेर भएको निहुँ पारेर लामिछानेले होटलमा जबरजस्ती राखेर पटक पटक बलात्कार गरेको पीडित बालिकाले प्रहरीमा जाहेरी बयान दिएकी छन् । भदौ ६ गते केन्या भ्रमण गरेको नेपालले घरेलु टिमसँग पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेलेको थियो । सन्दीपको कप्तानीमा खेलेको नेपालले सिरिज ३–२ ले जितेको थियो । केन्याविरुद्धको एकदिवसीय अभ्यास सिरिजअगाडि नै उनी क्यारेवियन प्रिमियर लिग खेल्न वेष्ट इन्डिज उडेका थिए ।
भारतका सेनाध्यक्षले भेटे प्रधानमन्त्रीलाई काठमाडौं । नेपाल भ्रमणमा रहेकाभारतको स्थल सेनाका प्रमुख मनोज पाण्डेले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् । आज मंगलबार दिउँसो सिंहदरवारमा पुगेर उनले प्रधानमन्त्री देउवासँग भेट गरेका हुन् । उनी पाँच दिने नेपाल भ्रमणका लागि काठमाडौं आएका हुन् । उनले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न ग्रहण गरेका छन् । आजै शिवपुरीस्थित नेपाली सेनाको कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गर्ने कार्यतालिका रहेको छ। यसका साथै उनी साँझ करिब ६ बजे पशुपतिनाथको दर्शनमा जाने कार्यक्रम रहेको छ।
खैरो हेरोइनसहित ८ जना पक्राउ, १० लाख रुपैयाँ बढी बरामद काठमाडौं । लागू औषध नियन्त्रण व्युरोले खैरो हेरोइनसहित ८ जनालाई पक्राउ गरेको छ । ब्यूरोले आज मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ४० दशमलव ५ ग्राम खैरो हेरोईनसहित ३ जना र २४७ ग्राम खैरो हेरोईनसहित ५ जनालाई पक्राउ गरिएको जनाएको छ। पक्राउ पर्नेमा ललितपुर भैसिपाटी बस्ने प्रताप कार्की, फिदिम घर भएका भुवन विक र सोहि स्थान बस्ने देङ्ग हाङ्ग नेम्वाङ रहेका छन् । ब्यूरोले काठमाडौंको माकलबारीबाट उत्सव घिमिरे, दोर्ची शेर्पालाइ लागू औषध खैरो हेरोईनसहित पक्राउ गरिएको र थप अनुसन्धान गर्दा फुर्लामी शेर्पालाई सुकेधाराबाट पक्राउ गरिएको ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक विकास राज खनालले जानकारी दिए । उनीहरुलाई लागू औषध बिक्री गर्ने झापाका अप्सरा राजबंशी र उनलाई पनि सप्लाई गर्ने नौसाद आलमलाई पनि झापा मेचिनगरबाट डिजिटल तराजुका साथै नगद १० लाख ४० हजार रुपैयाँ सहित पक्राउ गरिएको खनालले बताए । त्यस्तै, ब्यूरोले अवैध लागू औषध २५२ एम्पुलसहित चार जनालाई विभिन्न स्थानबाट पक्राउ गरिएको उनले जानकारी दिए । ब्यूरोले काठमाडौंका विभिन्न स्थानबाट दुई केजी गाँजासहित ३ जनालाई पक्राउ गरिएको जनाएको छ ।
जसले उपचार गराउन साथी जान्छु भन्थे, उसैको गर्दनमा खुकुरी हाने.. सिन्धुली। १ साउनको दिन थियो । टंक बहादुर उपचारको लागि काठमाडौं जानलाई सबेरै उठेका थिए । उठ्ने बित्तिकै टंकलाई रिंगटा चल्ला जस्तो भयो । मन स्थिर भएन, एक्कासी रिस उठ्यो । रिसकै झोँकमा उनले के सोचे, घरको ढोका छेउमैरहेको सिरुपाते खुकुरी बोकी छिमेकीको घरमा गए। त्यहाँ गन्ज बहादुर थिए । उनी पनि ओछ्यानबाट उठ्नै लागेका मात्रै के थिए, सोही बेला टंकले आँखै देखेनन् । उनी व्यसुरा बने । गन्जको गर्दनमा खुकुरीले छप्काई दिए । टंकले प्रहार गरेको खुकुरीको जोड थाम्न नसकी गन्ज ओछ्यानमै ढले । गन्जको घरमा रुवाबासी चल्यो । कोलाहल मच्चीयो । त्यसपछि नजिकैको अर्का छिमेकीहरु आइपुगे । व्यसुरा टंकको हातबाट खुकुरी खोसियो । टंक व्यसुरमै भागे । गन्ज रगताम्मे भए । गन्जलाई नजिकैको स्वास्थ्य संस्था लगियो । त्यहाँ प्राथमिक उपचारपछि उनलाई थप उपचारको लागि काठमाडौैं लगियो । अहिले उनी ठीक छन्। उनलाई खुकुरी हानेर भागेका टंकलाई प्रहरीले समातेर ज्यान मार्ने उद्योगमा सिन्धुली जिल्ला अदालतमा मुद्धा चलिरहेको अबस्था छ । अनुसन्धान अधिकृतलाई दिएको बयान अनुसार, घटनाको ४ दिन अघिदेखि टंकलाई सञ्चो थिएन । ‘घटना भन्दा ४ दिन पहिलादेखि मेरो मन स्थिर नहुने, आँखा नदेखेको जस्तो हुने, रिस उठ्ने,डर लाग्ने भएकोले झारफुकमा लागियो। उपचार गर्न काठमाडौं जानु पर्ने भएकोले त्यसदिन उठ्ने दिन के भयो, भयो । एक्कासी रिस उठेर गन्जको गर्दनमा खुकुरी हानेँ’, उनले बयानमा भनेको छ। उनलाई काठमाडौंमा उपचार गराउन उही गन्ज थिए। उनी खुकुरी बोकेर जाँदा उनलाई अस्पताल लिएर काठमाडौं जान गन्ज भर्खर ओछ्यानबाट उठ्न मात्रै खोजेका थिए। तर गन्जले खुकुरीले छप्काए । त्यसपछि गन्ज अस्पतालमा टंक जेलमा परे ।
प्रहरीलाई आयो गोप्य सूचना, बरामद भयो १ करोड बढीको सामग्री काठमाडौं । नवलपरासी प्रहरीले १ करोड रुपैयाँ बढीको अवैध सामग्री बरादम गरेको छ । प्रहरीले गोप्य सूचनाको आधारमा सोमबार साँझ नवलपुरको कावासोती–१६ स्थित चालिस किलो जङ्गलमा गरेको सवारीसाधन जाँचका क्रममा अवैधरूपमा भित्र्याइएको सामान बरामद गरेको हो। प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ३ ख ५१६८ नंको ट्रकबाट १ करोड २६ हजार ९९० रुपैयाँ बराबरको अवैध सामग्री बरामद गरिएको हो। ट्रकमा लुकाएर ल्याइएको बिलबिनाका लत्ताकपडा, चिनी तथा युरिया मल बरामद गरिएको उनले जानकारी दिए। बरामद सामान, ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
एकै परिवारका ३ जनाको हत्या गर्ने आरोपित सार्वजनिक उदयपुर । जिल्लाको बेलका नगरपालिका–७ गोवाटार बस्ने एकै परिवारका ३ जना सदस्यको हत्यामा संलग्न आरोपितलाई प्रहरीले सार्वजनिक गरेको छ । एकै परिवारका ३७ वर्षीय राज कुमार बस्नेत, उनकै श्रीमती ३३ वर्षीया सरिता बस्नेत र छोरा १२ वर्षीय सुजन बस्नेतको हत्या भएको थियो । धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा सोही ठाउँ बस्ने ४० वर्षीय नर बहादुर बस्नेतलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । स्थानीय दिलुटार वादिम खोलामा नर बहादुरले खुकुरी प्रहार गर्दा तीनै जनाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुर लगायतको प्रहरीले टोलीले उनलाई पक्राउ गरेको हो । उक्त घटनामाथि प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
भारतीय सेनाध्यक्ष मनोज पाण्डे काठमाडौंमा काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पाण्डे काठमाडौं आइपुगेका छन्। प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा उनी आज दिउँसो नेपाल आएका हुन्। पाण्डे पाँच सदस्यीय टोलीसहित काठमाडौं आइपुगेका हुन्। पाँच दिने भ्रमणमा जनरल पाण्डेले सैनिक मञ्च टुंडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, जङ्गी अड्‍डामा सम्मान गारत निरीक्षण र प्रधानसेनापति शर्मासँग छलफल हुने बताइएको छ। त्यस्तै, भारतीय सेनाको तर्फबाट नेपाली सेनालाई सहयोग स्वरुप प्रदान हुने विविध सामग्रीहरुको हस्तान्तरण कार्यक्रमसमेत हुने बताइएको छ। नेपाली सेना र भारतीय सेनाबीचको परम्पराअनुसार भारतीय सेनाध्यक्ष जनरल पाण्डेलाई राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम छ। प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि शिष्टाचार भेटवार्ता हुने बताइएको छ ।
ढुंगा गिट्टीको ठेक्का लगाउँदा भ्रष्टाचार, तत्कालीन उपप्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा काठमाडौं ढुंगा, गिट्टी, बालुवाको बिक्री वितरणको लागि सूचना प्रकाशन गर्दा तथा ठेक्का लगाउँदा नेपाल सरकारलाई हानी नोक्सानी पुर्‍याएको भन्दै बागलुङ नगरपालिकाका तत्कालीन उपप्रमुख सुरेन्द्र खड्कासहित ५ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ । उनीहरुले ठेक्का लगाउँदा सरकारलाई १७ लाख ४० हजार ६६ रुपैयाँ हानी नोक्सानी गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज आइतबार उनीहरुविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्धा दायर गरेको हो। प्रदेश सरकारले कानूनबमोजिम तोकेको दरमा सूचना प्रकाशन गरी ठेक्का लगाउनु पर्नेमा सो नगरी बिक्री वितरण दर कम निर्धारण गरी राजस्व संकलन गरेको अभियोगपत्रमा उल्लेख छ । तत्कालिन उपप्रमुख खड्का, तत्कालीन वडाध्यक्ष जीवन आचार्य, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर कुँवर, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत हिमालयजिवी उपाध्याय र तत्कालीन राजस्व शाखा सदस्य सचिव काशीराम शर्माविरुद्ध मुद्धा दर्ता गरेको आयोगले जनाएको छ। उनीहरुविरुद्ध ३४ लाख ८० हजार १३२ रुपैयाँ बिगोसमेत माग दाबी लिईएको छ।
नक्कली भ्याट बिल जारी गरेका ३ जना विरुद्ध १० करोड रुपैयाँ बढीको मुद्दा दायर काठमाडौं। नक्कली तथा झुठ्ठा मूल्य अभिवृद्धि कर विजक (भ्याट) जारी गरेको अभियोगमा तीन जनाविरुद्ध मुद्धा दायर गरेको छ। राजस्व अनुसन्धान विभागले उनीहरु विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो । विभागले भारतीय नागरिक धीरजकुमार जयसवाल, काठमाडौं महानगरपालिका–३२ का सुमनकुमार श्रेष्ठ र वीरगञ्ज महानगरपालिका–४ का राहुलकुमार जयसवालविरुद्ध १० करोड ९३ लाख दुई हजार छ सय ७६ बराबरको जरिवाना र कैद सजायको माग गर्दै मुद्दा दायर गरेको हो । विभागले शुक्रबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको भए पनि आज सार्वजनिक रुपमा जानकारी दिएको हो । विभागले मुल्य अभिवृद्धि करतर्फ एक करोड ७१ लाख ३२ हजार एक सय ७० रुपैयाँ , आयकरतर्फ तीन करोड ७५ लाख १९ हजार एक सय ६८ रुपैयाँ गरी पाँच करोड ४६ लाख ५१ हजार तीन सय ३८ रुपैयाँ बराबरको बिगो गरेको पाइएको छ । विभागले बिगोको दोब्बर बराबरको सजायको माग दाबी गरेको हो । त्यसअनुसार आरोपीमाथि १० करोड ९३ लाख दुई हजार छ सय ७६ रुपैयाँ बराबरको सजायको माग दाबी विभागले लिएको छ ।
दशैँका लागि हवाई टिकट बुकिङ धमाधम काठमाडौँ। दशैँ, तिहार, छठलगायत चाडपर्व नेपालीको महत्वपूर्ण उत्सव हुन्। दशैँमा गाउँघर जाने, आफन्तसँग भेटघाट गर्ने र नयाँ लुगा लगाउने परम्परागत चलन छ। वर्षदिनको महत्वपूर्ण चाड भएकाले देश तथा विदेशदेखि सहर, सदरमुकामदेखि गाउँबेसी पुग्नेको लर्को लाग्छ। उनीहरु आफन्त र मान्यजनबाट टिका तथा आशिर्वाद थाप्न लामो यात्रा तय गरेर गन्तव्य पुग्छन्। दशैँमा आवतजावत गर्ने महत्वपूर्ण माध्यम भनेको सडक तथा हवाई यातायात नै हो। अझ प्रभावकारी यातायातको रुपमा हवाईसेवालाई लिइन्छ। दशैँ आउन करिब तीन साता बाँकी रहँदा अहिले अधिकांश गन्तव्यको टिकट बुकिङ भइसकेको छ। वायु सेवा सञ्चालक सङ्घका प्रवक्ता योगराज कँडेल शर्माले दशैँका लागि धमाधम बुकिङ भइरहेको जानकारी दिए। उनले अहिले धेरैजसो गन्तव्यको अनलाइन बुकिङ सकिएको बताए। “दसैँका लागि अधिकांश बुकिङ भइसकेको छ, यात्रुको मागका आधारमा उडान सङ्ख्या थप्ने योजनामा छौँ ‘ट्रक रुट’ मा त्यति समस्या छैन ‘स्टल रुट’ मा जहाज लिमिटेड भएकाले अत्यधिक चाप हुन्छ।” प्रवक्ता शर्माले दसैँ लक्षित अनलाइन बुकिङ सकिए पनि जहाज प्रयाप्त रहेकाले थप उडान सञ्चालन गरिने जानकारी दिए। सामान्यतया दसैँ आउन एक महिनाअघि देखि नै हवाई टिकट खुलाइन्छ। अहिले अनलाइनबाट सहज रुपमा टिकट पाइने भएकाले अधिकांश हवाई गन्तव्यको टिकट बुकिङ भइसकेको एयरलाइन्सले जनाएका छन्। उनीहरुका अनुसार दसैँलाई लक्षित गरेर अहिले ७० प्रतिशत हाराहारी टिकट बुकिङ भइसकेको छ। सङ्घका प्रवक्ता कँडेल अनलाईनबाटै अधिकांश बुकिङ भएको बताउँछन्। आन्तरिक उडानका अग्रणी वायुसेवा कम्पनी बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, सौर्य, सिम्रिक, सीता र समिट एयरको अग्रिम बुकिङ धमाधम भइरहेको छ। आन्तरिकतर्फ ११ हेलिकप्टर कम्पनीसहित २० वायुसेवा प्रदायकले उडान भर्दै आएका छन्। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार आन्तरिक उडानतर्फ अहिले दैनिक दुई सय ६० दुईतर्फी उडानमार्फत झण्डै १३ हजार यात्रु आवतजावत गरिरहेका छन्। दसैँमा दैनिक तीन सय ५० हाराहारी उडानबाट २० हजार बढी यात्रुले सेवा लिने उनको अनुमान छ। “कोभिड–१९ महामारीमा उडानको चाप थियो, यस पटकको दसैँमा झनै यात्रुको चाप हुने देखिन्छ, यात्रुको मागअनुसार उडान थप्छौँ”, प्रवक्ता सिटौलाले भने। बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले दसैँका लागि अहिले धमाधम बुकिङ भइरहेको र समग्रमा ७० प्रतिशतसम्म टिकट बुकिङ भइसकेको जानकारी दिए। उनका अनुसार कम्पनीको अनलाइनबाट मात्रै ८० प्रतिशत बुकिङ भइसकेको छ। यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले अहिलेसम्म ६० प्रतिशतभन्दा बढी टिकट बिक्री भइसकेको बताउनुभयो । उहाँले भने, “पहिला जस्तो दसैँलाई मात्र भनेर बुकिङ खुलाउने गरिएको छैन, टिकट अनलाइनमा सहजै पाइने भएकाले बुकिङ करिब फुल भइसकेको छ। यात्रुको मागअनुसार उडान सङ्ख्या थप्न गर्न सकिन्छ।” तुलनात्मक रुपमा हवाई यात्रा महँगो भए पनि सहज, सुलभ र छिटोछरितो यातायात भएकाले हवाई यात्राप्रतियात्रुको आकर्षण बढ्दो छ। कमाइका हिसाबले पनि यो मौसम उपयुक्त मानिन्छ। त्यसैले केही महँगो भए पनि हवाई यात्राका लागि अधिकांश यात्रु लालाहित हुन्छन्। नजिकिएको दसैँलाई मध्यनजर गर्दै अहिले हवाई सेवा प्रदायक कम्पनीले धमाधम अग्रिम टीकट बुकिङ गरिरहेका छन्। केही गन्तव्यमा त दसैँ आउन एक महिनाअघिनै टिकट ‘प्याक’ भइसकेको छ। दसैँमा राजधानी काठमाडौँ छाडेर गाउँघर पुग्ने यात्रुको चहलपहल बढी हुन्छ। टिकाको भोलिपल्टदेखि राजधानी फर्किने यात्रुको चाप बढ्छ। वायुसेवा कम्पनीका अनुसार अहिले दसैँको अन्तिम दिनलाई लक्षित गरी उच्च दरमा टिकट लिने क्रम बढेको छ। तुम्लिङटार र सुर्खेत गन्तव्यको बुकिङ ‘फुल’ आन्तरिक उडानको महत्वपूर्ण स्टल रुट मानिने तुम्लिङटार र सुर्खेत गन्तव्यको अग्रिम बुकिङ फुल भइसकेको एयरलाइन्सले जनाएका छन्। बुद्ध एयरका सूचना अधिकारी कर्णका अनुसार बुद्ध एयरकोे तुम्लिङटार र सुर्खेत गन्तव्यको अग्रिम बुकिङ पूर्ण भइसकेको छ। बाँकी गन्तव्यमा पनि अधिकांश प्याक भइसकेको छ। विशेषगरी फुलपातिदेखि विजया दशमी टिकासम्म चाप बढी हुन्छ। अग्रिम बुकिङ सोही अनुरुप हुने गरेको एयरलाइन्स कम्पनीले जनाएका छन्। नेपाली पात्रोअनुसार यो वर्ष असोज १० गते घटस्थापना र १९ गते विजया दशमी टिका रहेको छ। सत्तरी प्रतिशत बुकिङ दसैँलाई लक्षित गरेर एयरलाइन्सको धमाधम हवाई टिकट बिक्री भइरहेको छ। अहिले ६० देखि ७० प्रतिशत बुकिङ भएको एयरलाइन्सले जनाएका छन्। बुद्ध एयरको विभिन्न गन्तव्यमा ७० प्रतिशत हाराहारी बुकिङ छ। पहिला ट्राभल एजेन्सीमार्फत टिकट होल्ड गरिन्थ्यो। उसको अनलाइन बुकिङ ८० प्रतिशत भइसकेको छ । यती एयरलाइन्सले आफ्नो ६० प्रतिशत अनलाइन बुकिङ भइसकेको जनाएको छ। श्री एयरलाइन्सको पनि सोही हाराहारी बुकिङ छ। एयरलाइन्सका व्यवस्थापक अनिल मानन्धरले दसैँका लागि कम्पनीको विभिन्न गन्तव्यमा बुकिङ भइरहेको बताए। यती एयरलाइन्सका प्रवक्ता बर्तौलाका अनुसार ७० प्रतिशत अनलाइनबाट र बाँकी ३० प्रतिशत ट्राभल एजेन्सी तथा एयरलाइन्सको टिकट बिक्री काउन्टरमा प्रत्यक्ष गएर यात्रुले टिकन लिने गरेका छन्। सौर्य एयरलाइन्सले शुक्रबारदेखि दसैँ र तिहारलाई केन्द्रित गरी अग्रिम बुकिङ खुला गरेको जानकारी गराएको छ। एयरलाइन्सले विभिन्न दररेटका टिकट अनलाइन बुकिङमा राख्ने भएकाले सस्तो टिकट चाँडै फुल हुन्छ। त्यसपछि महँगो टिकट खरिद गर्नुपर्ने हुन्छ। एयरलाइन्सले अनलाइनबाट वर्षभरी नै टिकट बुक गर्न सकिने गरी खुला गरेका छन्। यसले यात्रुलाई सहज रुपमा टिकट लिएर गन्तव्यमा पुग्न सहज भएको छ।- रासस
मासिक ३० हजार कमाई हुने भन्दै भारत पुर्‍याएर ६ लाखमा मृगौला बेच्ने ४ जना कारागार चलान काठमाडौं जबरजस्ती भारत पुर्‍याएर मृगौला बेचेको आरोप लागेका ४ जना कारारगार चलानभएका छन् । काठमाडौं जिल्ला अदालतले उनीहरुलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश सुनाएसँगै उनहरु कारागार चलान भएका हुन्। उनीहरुले नुवाकोट छहरेका एक युवकलाई जबरजस्ती भारतको कलकत्ताको मुकुन्दपुर पुर्‍याएर उनको मिर्गौला बिक्री गरेका थिए। कारागार पठाइएकामा शिवपुरी गाउँपालिका–७ ४६ वर्षीय ‘बाँदरे’ भन्ने मुरली दमाई, ३० वर्षीय राजु नेपाली, २६ वर्षीय राजेश परियार र ३० वर्षीय ‘सानु’ भन्ने सुवास नेपाली रहेका छन् । यसअघि मानव बेचबिखन ब्यूरोले उनीहरूलाई नियन्त्रणमा लिई मुद्दा दर्ता गरेको थियो । ब्यूरोका अनुसार उनीहरूले भारतको एउटा मःमः पसलमा मासिक ३० हजार पारिश्रमिक पाउने गरी जागिर लगाइदिने भन्दै पीडितलाई भारतको कलकत्ताको मुकुन्दपुरमा रहेको रविन्द्रनाथ टेगोर अस्पतालमा पुर्‍याएका थिए । अस्पताल पुर्‍याएपछि ती युवकलाई बेहोस बनाउने सुई लगाएर मिर्गौला पनकालेका थिए । उनीहरूले ती युवकको मिर्गौला ६ लाख रुपैयाँमा बिक्री गरेको प्रहरी अनुसन्धानका क्रममा खुलेको थियो । त्यसपछि उनीहरूले असार ७ गते नेपाल ल्याएर ती युवकलाई छाडेका थिए । उनीहरूलाई प्रहरीले साउन २१ गते पक्राउ गरेको थियो । पक्राउ परेका चारै जनालाई जिल्ला अदालत काठमाडौंले भदौ १७ गते जगन्नाथदेवल कारागार पठाएको छ ।
उपत्यकाको विभिन्न ३ स्थानबाट लागुऔषधसहित ५ जना पक्राउ काठमाडौं । काठमाडौं प्रहरीले उपत्यकाको विभिन्न स्थानबाट अबैध लागुऔषधसहित ५ जनालाई पक्राउ गरेको छ । प्रहरीले दक्षिणकाली नगरपालिका–५ फर्पिङबाट २ जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट प्रहरीले ४९ एम्पुल फेनारगन, ४९ एम्पुल नुर्फिन र ४९ एम्पुल डाईजेपाम समेत बरामद गरेको छ । पक्राउ पर्नेहरुमा काभ्रे पाँचखाल नगरपालिका–२ देवीथान बस्ने २९ वर्षीय ज्ञान बहादुर तामाङ लगायत २ जना रहेका छन् । त्यस्तै बालाजु बाईपास ओरालोबाट २८ एम्पुल नुफिन, २५ एम्पुल डाइजेपाम र ४३ एम्पुल फेनारगन सहित दोलखा सैलुङ गाउँपालिका–३ घर भई बालाजु बाईपास बस्ने २७ वर्षीय बादल श्रेष्ठलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । त्यस्तै गरी, नागढुङ्गाबाट करिब ११ किलो ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित धादिङ गजुरी गाउँपालिका–४ बस्ने १९ वर्षीय सुमन प्रजा समेत २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । उनीहरुमाथि प्रहरीले अनुसन्धान गरीरहेको जनाएको छ ।
जुवाखालबाट नगदसहित १५ जना पक्राउ बर्दिया । प्रहरीले बर्दियाको जुवाखालबाट १५ जना जुवाडेलाई पक्राउ गरेको छ । मधुवन नगरपालिका–४ माचड चोकमा रहेको सोमई थारूको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३४ वर्षीय जगत चौधरीसमेत रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनीहरूलाई शनिबार पक्राउ गरिएको हो । उनीहरुको साथबाट प्रहरीले नगद ५७ हजार २ सय ९० रूपैयाँ र ५ बुक ताससमेत बरामद गरेको छ । प्रहरीले उनीहरुमाथि थुनामा राखी थप अनुसन्धानगरीरहेको जनाएको छ ।
पोखराबाट मुस्ताङ उडेको समिट एयरको विमानको इन्जिनमा खराबी देखिएपछि… पोखरा । पोखराबाट मुस्ताङका लागि उडेको समिट एयरको विमानको इन्जिनमा खराबी देखिएको छ । विमानमा खराबी देखिएपछि पुनः पोखरा नै फर्काइएको छ। पोखरा विमानस्थलबाट बिहान ७ बजेर ५९ मिनेटमा उडेको थियो । विमानमा खराबी देखिएपछि ७ मिनेटमै पोखरा फर्काएर आपत्कालीन अवतरण गरिएको थियो। विमानमा १८ यात्रु थिए। विमानको इन्डिकेसनमा खराबी देखिएपछि आपत्कालीन अवतरण गरिएको पोखरा विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले जानकारी दिए।
११ जनाको डाँका समूह र प्रहरीबीच मध्यराति गोली हानाहान काठमाडौं । बाराको एक ग्याँस कम्पनीमा लुटपाट गर्न पुगेका डाँका समूह र प्रहरीबीच मध्यराति गोली हानाहान भएको छ । बारा प्रहरीले उक्त घटनामा संलग्न डाँका समूहका २ जना सदस्यलाई नियन्त्रणमा लिएको छ । जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुहिस्थित ग्यास सिलिण्डर बनाउने एरोटेक प्रालिमा लुटपाट गर्न पुगेका डाँका समूह र प्रहरीबीच गएराति १ बजे गोली हानाहान भएको हो। इलाका प्रहरी कार्यालय जितपुरका प्रहरी उपरीक्षक कमलबहादुर शाहीको कमाण्डमा डाँका समूहलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उक्त प्रहरी टोलीले डाँका समूहलाई नियन्त्रणमा लिने क्रममा गोली चलेको थियो। डाँका समूहको तर्फबाट एक राउण्ड गोली प्रहार भएको थियो। प्रहरीले तीन राउण्ड हवाइ फायर गरेको प्रहरी नायब उपरीक्षक रामकाजी थापाले बताए। डाँका समूहले वरिष्ठ प्रहरी नायव निरीक्षकको टाउकोमा रड प्रहार गरी घाइते बनाएका छन्। उनको वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचार भइरहेको र अवस्ता खतरामुक्त छ। प्रहरीले घटनास्थलबाट एक थान बन्दुक र त्यसमा लाग्ने तीन वटा गोली र एकथान एकनाले बन्दुक बरामद गरेको छ। प्रहरीले डाँका समूहका दुईजना पक्राउ परेका छन्। प्रक्राउ पर्नेहरुमा जितपुर सिमरा उपमहानगरपालिका ९ बस्ने ३५ वर्षीय जयराम पासवान र सोही पालिका वडा नम्बर १० बस्ने ४० वर्षीय जवाहिर महतो रहेका छन् । अन्य फरार रहेका डाँका समूहका सदस्यहरुलाई खोजी कार्य तीब्र पारेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
गुणस्तरीय स्वास्थ्यलाई सरकारले प्राथमिकतामा राखेको छः प्रधानमन्त्री देउवा काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गुणस्तरीय स्वास्थ्यलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् । नेपाली कांग्रेसको शुभेच्छुक संस्था प्रजातन्त्रवादी चिकित्सक सङ्घले आज लैनचौर ब्याङ्वेटमा आयोजना गरेको ‘सम्मान तथा शुभकामना आदानप्रदान’ कार्यक्रममा उनले संविधानले स्वास्थ्य र शिक्षा क्षेत्रलाई मौलिक अधिकारका रूपमा ग्यारेन्टी गरेको बताए । “समृद्ध नेपाल निर्माणमा स्वास्थ्य क्षेत्रको महत्वपूर्ण भूमिका छ, यसलाई सरकारले प्राथमिताका साथ बजेट विनियोजन गरेको छ”, प्रधानमन्त्री देउवाले भने । आम नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न आवश्यक स्रोत साधनको व्यवस्थालाई सरकारले प्राथमिकता दिएको उनले उल्लेख गरे । उनले कोभिड–१९ को समयमा चिकित्सकले खेलेको भूमिकाको उच्च मूल्याङ्कन गर्दै कोरोना महामारीको समयमा खटिएका चिकित्सकलाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गरे । सरकारले चिकित्सा शिक्षालाई सस्तो, सुलभ र सबैको पहुँचमा पुर्‍याउन काम गरिरहेको उनको भनाइ थियो । प्रधानमन्त्री देउवाले ग्रामीण क्षेत्रका जनतालाई गुणस्तरीय स्वास्थ्य र सहज उपचार पाउने गरी सरकारले काम गरिरहेको बताए । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिएको उल्लेख गर्दै उनले निर्वाचनमा कांग्रेसको पक्षमा जनमत सिर्जना गर्न प्रजातन्त्रवादी चिकित्सक सङ्घको महत्वपूर्ण भूमिका हुने बताए । सरकारले निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न लागेको उनले बताए । कांग्रेस उपसभापति धनराज गुरुङले मुलुकको हरेक आन्दोलनको नेतृत्व कांग्रेसले गरेको उल्लेख गर्दै समृद्ध नेपालको नेतृत्वका लागि आगामी निर्वाचनमा पार्टीलाई पहिलो बनाउनुपर्ने धारणा राखे । कार्यक्रममा कांग्रेस नेता डा शेखर कोइरालाले स्वास्थ्य क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न नसकेको गुनासो गरे। “सरकारले देशको कुल बजेटको जम्मा पाँच दशमलव ७५ प्रतिशतमात्र स्वास्थ्य क्षेत्रका लागि छुट्टयाएको छ, उक्त बजेट स्वास्थ्य क्षेत्रका लागि एकदमै न्यून हो”, उनले भने। नेता कोइरालाले कुनै पनि देशलाई समृद्ध बनाउनका लागि स्वास्थ्य र शिक्षामा बजेट पर्याप्त मात्रामा उपलब्ध गराउनुपर्ने बताए। जनतासँग प्रत्यक्ष जोडिएको स्वास्थ्य र शिक्षा मन्त्रालयलाई आगामी दिनमा कांग्रेस आफँैले राख्नुपर्ने उनको भनाइ थियो । उनले पार्टी र संसद्का महत्वपूर्ण क्षेत्रमा पेशागत क्षेत्रको प्रतिनिधित्व गराउन सकेमात्र देशको विकास हुने स्पष्ट पारे । कांग्रेस पूर्वमहामन्त्री डा शशाङ्क कोइरालाले दुर्गम क्षेत्रका जनतालाई स्वास्थ्य सेवा प्रदान गर्न प्रजातन्त्रवादी प्राध्यापक सङ्घले भूमिका खेल्नुपर्ने बताए । आगामी मङ्सिरमा हुन लागेको निर्वाचनमा चिकित्सकहरूलाई टिकट दिएर सम्मान गर्नुपर्ने उनको भनाइ थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका स्वास्थ्य सल्लाहकार डा आरपी विच्छाले वर्तमान सरकारले सबै नेपालीलाई खोपको सुनिश्चितता गरेर प्रशंशनीय काम गरेको बताए । “कोरोनाको उपचारमा खटिएका चिकित्सक तथा नर्सलाई भत्तादेखि लिएर चिकित्सकको सुरक्षाका लागि बनेको ऐन पास गरेर चिकित्सा क्षेत्रमा सरकारले उल्लेखनीय काम गरेको छ”, उनले भने । नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा लोचन कार्की, प्रजातन्त्रवादी चिकित्सक सङ्घका पूर्वअध्यक्ष डा केदारनरसिंह केसी, प्रजातन्त्रवादी चिकित्सक सङ्घका महासचिव डा मुक्तिराम श्रेष्ठलगायतले नेपालका हरेक आन्दोलनमा नेपालका चिकित्सकले खेलेको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै चिकित्सकलाई संसद् र पार्टीका विभिन्न तहमा ठाउँ दिन आग्रह गरे । विसं २०६६ मा स्थापना भएको प्रजातन्त्रवादी चिकित्सक सङ्घले सातै प्रदेशमा आफ्नो प्रदेश शाखा स्थापना गरी चिकित्सकको हक, हित र अधिकारका क्षेत्रमा काम गर्दै आएको सङ्घका अध्यक्ष डा अनिलविक्रम कार्कीले जानकारी दिए । सो अवसरमा प्रजातन्त्रवादी चिकित्सक सङ्घका पूर्वअध्यक्ष डा केसी, लक्ष्मीराज पाठक र महासचिव डा मुक्तिराम श्रेष्ठलाई सम्मान गरिएको थियो ।
सरकारले समयमै होसियारी अपनाएकाले अर्थतन्त्र लयमा आयोः अर्थमन्त्री शर्मा काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कने क्रममा रहेकोे बताएका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २४औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले सरकारले समयमै होसियारी अपनाएका कारण अर्थतन्त्र सकारात्मक सुधारमा रहेको बताए । मन्त्री शर्माले चाडवाड सुरु भएसँगै विप्रेषण बढेको र त्यसले देशको अर्थतन्त्र बलियो हुँदै गएको बताए । उनले देशमा विप्रेषण बढेसँगै विदेशी मुद्रा सञ्चिती बढ्दै जाने र अर्थतन्त्र सवल हुँदै जाने विश्वास व्यक्त गरे । उनले तरलता अभाव हुन नदिन सरकारले बजेट खर्चमा ध्यान दिने र चालु आवमा बजेट खर्च प्रभावकारी बनाउन सबै मन्त्रालयलाई निर्देशन दिइएको जानकारी दिए। मन्त्री शर्माले निजी क्षेत्रलाई उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन आग्रह गर्दै देशमा लगानीयोग्य वातावरण रहेको बताए । कृषि, वनलगायतका क्षेत्रमा लगानी बढाउन निजी क्षेत्रलाई उनले आग्रह गरे ।
प्रकाश चलचित्रले सम्झाएको सेतो भैंसी २०५५ सालको जेष्ठको दोश्रो हप्ता तिरको कुरा हो, म ६ बर्षको थिएँ। साँझ पर्न लागेको बेला आफ्नो मातहतमा भएका बाख्रालाई गोठमा बाधेँ, अनि भोलि पनि तिनै बाख्रासँग जंगल जाने बाचा गरेर घरमा पसेँ। आँगन पुग्दा नै मिठो बास्ना आयो। घरमा मासु पाक्दैछ भन्ने थाहा पाएँ। सायद आमाले कसौंठीमा मासु भुट्दै हुनुहुन्थ्यो। महिना दुई महिनामा गाउँमा खसी काटिन्थ्यो। खसी काट्ने कुरा हामी जस्ता केटाकेटीलाई पहिल्यै थाहा हुन्थ्यो। हामीलाई एक विसौली मासु चाहिन्थ्यो। तर कहिले काँही मासु पुग्दैन थियो। खाली हात फर्किनु पर्दा मन खिन्न हुन्थ्यो। घरमा भित्तापट्टि टाँसेर बनाइएको खाटमा २ जना सुकिला लुगा लगाएका मान्छे बसेको रहेछन्। कट्टु र सिंगान सँगै तान्दै नमस्कार गरेँ। उ बेला हाम्रो घरमा आएका हरेक ठूला मान्छेलाई नमस्कार गर्न सकिइएको थियो। म घरभित्र छिर्नासाथ अलि अग्ला जुँगा गज्जबले पालेकाले हत्त न पत्त सोधे, अनि यी चाहीँ? यो मेरो साइँलो। यो प्रश्नपछि बुवाको आँखामा थोरै असहजता अनि अलि धेरै अपेक्षा देखिन्थ्यो। बुवाले अलि अप्ठ्यारो मान्दै जबाफ दिनुभयो। सायद यिनले पहिल्यै केटाकेटी घर परिवारको विषयमा सोधेर हैरान पारिसकेका हुँदा हुन्। तपाईंले सक्नु भएकै हो सर, यत्रा केटाकेटी हुर्काउनु निकै चुनौतीपूर्ण काम हो। अर्का सुकिला काकाले गहन हुँदै भावपूर्ण शब्दहरु थपे। चुलामा आमा फिस्स मुस्कुराउँदै मासु भुट्दै हुनुहुन्थ्यो। आमालाई पनि ती काकाको शब्दले छोयो होला। दुखलाई काट्ने केही औषधि त कसैका मिठा शब्द पनि त हुन्। माइलो अघि नै चुलाको छेउमा धुँवासँग लडाईं गर्दै आँखा मिच्दै बसेको रहेछ। केटकेटीपन उसमा पनि देखिन्थ्यो। को हुन यी मान्छे? किन आए होलान्? यिनका परिवार कस्ता होलान्, बाख्रा, गोरु, खेत बारी इत्यादी सबै मेरो मनमा कौतुहलता बनेर खेलिरहेको थियो। मानौं म यिनको सबै कुरा जान्नको लागि अन्तर्वार्ता लिने तयारी गर्दैछु। खाना खाएपछि आमाले ओछ्यान मिलाइ दिनु भयो। म र माइलोसँगै सुत्यौं। ओछ्यानमा पल्टिएर एक छिन गफ सुनेँ। कस्ता मिठा गफ गर्दै थिए आजका पाहुना! सिराहामा तालिममा जाँदा भएका केही घटनाहरु बुवालाई सुनाए पछि पक्का भयोे यी दुबै शिक्षक नै रहेछन्। मनमा भएका अनेक कौतुहलता मध्ये कुनै एकको उत्तर हात पर्दा मन निकै हलुंगो भयो। अनि मु भुसुक्क निदाएँ छु। बिहान ७ बजे तिर उठेँ। उठ्ने बित्तिकै आमाले हरेक दिन कुराउनी (दुध तताईसके पछि कुँडेमा बसेको रहलपहल) दिनुहुन्थ्यो। तर आज बिहान उठ्दा आमा पनि देखिनँ। न अरु कोही थिए। न त कचौरामा अरु दिनको जस्तो कुराउनी नै। आज घर कुर्न मलाई राखेर सबै जना काममा हिँडेछन्। उत्ता चुल्होको छेवैमा मकै र भटमास भुटेर खाजा राखि दिएको रहेछ। केही बेर मकै चपाउँदै हिजोका मान्छे सम्झिँदै बसेँ। पेट टन्नभएपछि बल्ल याद भयो, कोही नभए पनि माइलो त घरै हुन्थ्यो। तर उ पनि आज थिएन। कता गयो चिन्ता थपिँदै गयो। उमेरले उ दाइ भए पनि मैले तँ नै भन्ने गरेको थिएँ। यसमै धेरै मायाँ थियो, अनि सद्भाव पनि। आज पनि बिहानको काम पूरा गर्न बाख्रालाई हतार हतार खोरबाट निकालेर पाखातिर कुदाइहालेँ। यो मेरो हरेक बिहानको कार्यतालिका नै थियो। वर्षायामको सुरु भएकाले हल्का पानी परेको थियो। चरनमा भएका बाख्राहरु ओसिला देखिन्थे। म ऐंसेलु खान थालेँ। म ऐंसेलुमा भुल्दा बाख्रा त्यहाँ थिएनन्। बाख्रा मेरा साथी पनि थिए। केही बुट्यानका मुलायम पात, विना स्वार्थ बगिरहको खोलाको आवाज, चराहरुका मिठा आवाज र मालिंगोको सुरिला ढुङग्री मेरा सांगीतिक धुनका लागि सधैं झैँ साधन बन्ने गर्थे। जिन्दगीले हरेक चिजको उपभोग कहीँ न कतै गरेर खुसी तुल्याउने भूमिका खेलेको हुँदो हो, त्यसैले त हरेक चिज प्यारा लाग्ने अनि मिठा लाग्ने। करिव नौ बजेको हुँदो हो, हिजोको घर आउँदाको घरको माहोल अनि रौनक आज ठिक बिपरित थियो। उदास वातावरण अनि खिन्नताबोध गरेजस्ता घरका सदस्य। केही बेरमा स्कुल जानलाई हतारमा भात खाँदै गर्दा आमालाई सोधेँ। खोई मेरो आजको कुराउनी? आमा बोल्नु भएन। उता फर्केर केही बेर टोलाए जस्तो गर्नुभो अनि फेरि हामी पट्टि फर्केर तरकारी चाहिन्छ सोध्नुभो। दिदीले थाल अलि पर धकेली आमा तरकारी थपेर बाहिर पो निस्कनु भो। मेरो हरेक दिन जिब्रोको स्वाद फेर्ने कुराउनी मैले कसरी बिर्सन सकुँ ? कुन मनले चित्त बुझाँउ बिना कारण भाग खोसिएको कुरालाई । सानो होस वा ठुलो खोसिएको वा छुटेका भागको महत्व निकै हुने त्यसैले त उम्केको माछो ठुलो भन्ने भनाई बनेको हुँदो हो । माईलोको आँखा रसिला देखेँ, केहि उराठपन पनि । लाग्दै थियो मेरो भागको कुराउनि उसैले दन्कायो अनि रिसाउला भन्ने डरले उ उदास छ । यत्तिकैमा मधुरो स्वरमा बोल्यो अब त सेतो रंगको भैसी देखिँदैन होला है दिदी ? दिदी बोलिन, मौन बसिरहि सायदै उसलाई पनि त्यहि प्रश्न मनमा खेलिरहेको हुँदो हो । मलाई उत्सुकता जाग्यो कि हाम्रो बाहेक कसैको घरमा सेतो भैंसी नहुने होला । सोधिहालेँ, किन र हाम्रो भैंसिको पाडो सेतो छ, पछि बेचेपछि कसैको घरको सेतो भैंसी भईहाल्छ नि ! उसका गहभरी आँसु थियो उ अझै मौन बन्न खोज्दैथियो तर सकेन । हाम्रो सेतो भैंसी बेचिसके उ बोल्यो । हो साँच्चै सेतो भैसी व्यवहारमा पनि सेतै थियो । कसैलाई नहान्ने, फनक्क घुमेको सिङमा हामी पालोपालो बस्दा पिङ खेलेजस्तो लाग्ने, जे पनि घाँस खाईदिने, गमक्क परेको बलियो, जसलाई पनि दुध दिने ओहो बैगुन एकमात्र थियो उसको थाक्ने समयमा थाकिदिन्थ्यो । यति गुनि भैसि अहिलेसम्म मैले देखेको छैन, कताकता सुनेको चाँहि छु । मनमा सन्नाटा छायो, जिब्रोमा दुध र कुराउनिका स्वाद लरबरीन थाले मन लामो यात्रामा दौरा सुरुवाल लगाएक हिडेको मान्छेको आदि बाटोमा पुगेपछि सुरुवालको सुता छिने जस्तै गरी चटक्क चुँडियो, खाँदै गरेको भातको स्वाद फेरीयो, अनेक भयो । केटाकेटीलाई यस्तो नहुनुपर्ने हो तर भयो सायद सबैको मन राम्रै चिजमा बढि अडिएको हुँदोहो । अब मिठा कुरा गर्दै जुंगा मुठार्ने काका का छोराछोरी हाम्रो सेतो भैंसिको दुध र भरपुर गुणमा रमाउने दिन आईसकेको थियो । रु १३ हजारमा सेतो पाडो सहित बेचिएको भैंसिको दाम्लो छोड्दा माईलोले एक सय रुपैयाँ पाएको रहेछ त्यो सुनेपछि झन मन रोयो, म बिहानै उठेको भए कतै मेरो भाग पर्थ्यो कि ! यहि त होला केटाकेटीपन जे मा पनि लोभ नै हुने, अरु भन्दा आँफै अघि हुनुपर्ने । त्यो दिनैभरी मन रोयो, २ कक्षामा पढ्ने सहपाठी सबैले थाहा पाए । सँधै गुणको चर्चा पाएको हाम्रो प्यारो सेतो भैंसी अब हामीसँग थिएन यो कुरामा केहि साथी खुसी भए त केहिले सहानुभूति देखाए। स्कुलबाट फर्केपछि बेलुकि पनि बाख्रा चराउन उहि पाखा गएँ । सँधै हँसिला, खुसिला रुख, बिरुवा, खोला आज निरास नै देखिन्थे लाग्दै थियो यि सबैमाझ पनि सेतो भैसि नभएको हुँदो हो । म निकैबेर रोएँ, बरबरी आँसु झरे मेरा । दिनभरी मन थामेको म कोहि कसैको कारणले रहेछ, अनि आन्नद बाँड्ने पो साथीसंगी हुँदारहेछन् तर दुख बाँडने अन्तत प्रकृति हुँदोरहेछ । सबै मान्छे प्रकृति हेरेर एकान्तमा रुँदा हुन् आफ्ना पिडा पोख्दाहुन र सहानुभूति पाएका हुँदा हुन् । हो गुमाएका कुराहरु निकै गतिला अनि प्यारा लाग्दा रहेछन् चाहे त्यो प्रेम होस या मन परेका अन्य चिज । केहि दिनमा अझै बढि दुध दिने लाहुरी भैंसी घरमा बुवाले ल्याउनु भयो घ्यू पनि अलि धेरै लाग्छ भनेर आमाले अरुलाई सुनाएको सुन्थेँ र पनि मन खिन्न हुन्थ्यो त्यहि सेतो भैसीको सम्झना आउथ्यो । केवल प्रेम होला बस्तुभाउ सँगको, माया होला उसका राम्रा व्यवहार र गुणको अनि सदैवको नमेटिने सम्झना अझै बाँकि छ त्यो सेतो भैसिको । सेतो भैसी बेचेपछि २० वटा भैंसी हाम्रा घरमा आए होलान १५ बर्षदेखि यि हातले काटेका २ मुठ्ठि घाँस कुनै पनि जनावरले खान पाएका पनि छैनन् । त्यो सेतो भैंसी सायदै मनमा नआको पनि निकै बर्ष भएको हो नै । सहरीया जिवन बिताउने चक्करमा काठमाडौंको एक कुनामा घोत्रिएको म र म जस्ता धेरैले यस्ता जनावर प्रतिको उ बेलाको माया प्रेम बिर्से पनि होलान् । कुनै कहानीहरु बनाईएका कथाहरु जिन्दगीका धेरै मोड र घुम्तिमा मिल्ने गर्छन्। केहि केहि मात्र आफ्ना कथासँग दाँजिन्छ, तुलना गरिन्छ खुसी भईन्छ अनि दुखी पनि । आज ‘प्रकाश’ चलचित्रमा राखिएको गाईको बाच्छो बेच्दाको भावुकता, खिन्नतापन, नोक्सान अनि आफूले पालेको जनावर प्रतिको माया देख्दा मैले हाम्रो करिब २४ बर्ष अघिको सेतो भैंसी सम्झिएँ, शरीर जिरीगं गर्यो, हातहरु सलबलाए मन गह्रौ भयो सायद धेरैलाई यो चलचित्रमा यस्तै हुँदो हो । केहि केहि गुमाईएका कुराहरु राम्रा कथाका पात्र बन्दारहेछन् । गुमाईएका मध्ये प्रेमिल, अविश्मरणिय र सम्झनारुपी सेतो भैंसीलाई जहाँ भएपनि लामो आयुको कामना र प्रकाश चलचित्रका सम्पूर्ण टिमलाई धन्यवाद !
अन्डरवर्ल्ड डन दाउद इब्राहिम कहाँ छन् भन्नेबारे उनका भाइ इकबालले खुलासा गरे काठमाडौं । धेरै आतंकवादी घटना गराउने दाउद इब्राहिम कहाँ लुकेका छन् ? यी प्रश्नहरू अक्सर उठ्छन्। धेरै पटक उनी पाकिस्तानमा लुकेर बसेको भनिन्छ । तर अहिले एनसीबीको सोधपुछमा उनका भाइले दाउद कहाँ छन् र कसरी आफ्नो कालो कारोबार गरिरहेका छन् भन्ने बताएका छन् । दाउदका भाइ इकबाललाई मुम्बई एनसीबीले जुन २०२१ मा लागूऔषध मुद्दामा पक्राउ गरेको थियो। इकबाललाई मुम्बई एनसीबीले जेलबाट रिमान्डमा सोधपुछ गरेको थियो। उनले दाउद, छोटा शकील, अनीस इब्राहिम पाकिस्तानमा रहेको खुलासा गरेका छन् । इकबालले मुम्बई बमकाण्डका आरोपी जावेद चिकनाको बारेमा ठूलो खुलासा गर्दै जावेदले पाकिस्तानमा ड्रग्सको काम गर्ने बताए । उनलाई पक्राउ गरी पाकिस्तानको जेलमा राखिएको छ । हालै, अगस्ट ४ मा राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) ले दाउद इब्राहिमका नजिकका सहयोगीलाई पक्राउ गरेको थियो। उनी छोटा शकीलका आफन्त थिए । अभियुक्तको नाम मो. सलीम मो. इकबाल कुरैशी उर्फ ​​सलिम फ्रुट थियो । उनी मुम्बई सेन्ट्रलको अरेबियन लेनमा एमटी अन्सारी मार्गमा रहेको मीर अपार्टमेन्टमा बस्थे। अभियुक्त डी कम्पनीसँग सम्बन्धित गतिविधिमा संलग्न थिए। एनआईएले ३ फेब्रुअरीमा अंडरवर्ल्ड डन दाउद इब्राहिम र छोटा शकीलका नजिकका साथीहरू विरुद्ध एफआईआर दर्ता गरेको थियो। जसमा दाउद इब्राहिम कास्कर उर्फ ​​दाउद भाइ र उनका सहयोगीहरुको नाम थियो । यी व्यक्तिहरू तस्करी, नार्को आतंकवाद, मनी लन्ड्रिंग, एफआईसीएनको प्रसार, आतंकवाद कोष, अवैध कब्जा, ठूला सम्पत्ति अधिग्रहण, लस्कर, जेएम र अल-कायदा लगायत अन्तर्राष्ट्रिय आतंकवादी संगठनसँग सक्रिय सहयोगीको रूपमा काम गर्ने कार्यमा संलग्न थिए। प्रहरीले यसअघि १२ मेमा दुई जना अभियुक्तलाई पक्राउ गरेको थियो ।
सेरेना विलियम्सले ४०० वटा हीरा जडित जुत्ता लगाएर युएस ओपन टेनिस म्याच खेलिन् काठमाडौं । अमेरिकी टेनिस स्टार सेरेना विलियम्स अहिले वर्षको अन्तिम ग्रान्ड स्लाम प्रतियोगिता यूएस ओपन २०२२ मा भाग लिदै छिन्। उसले आफ्नो पहिलो खेलमा शानदार जित हासिल गरिन्, जुन यादगार बनेको छ। यो खेल जितभन्दा हीराको कारण चर्चामा छ । वास्तवमा २३ पटककी ग्राण्डस्लाम च्याम्पियन सेरेना विलियम्स यस खेलमा हीरा जडित जुत्ता लगाएर आइन् । हीरा पनि थोरै थिएनन्, जुत्तामा मात्रै ४०० हीरा जडित थिए। खेलमा हीरा जडित जुत्ताहरु विशेष आकर्षणको केन्द्र बनेका थिए । यति मात्र होइन, यो पहिलो खेलमा सेरेना विशेष पोशाक लगाएर आइन् । यो पोशाक पनि उनले आफैं डिजाइन गरेकी हुन् । उनकी ५ वर्षीया छोरी ओलम्पियाले पनि आमाले जस्तै पहिरन लगाएकी थिइन् । सेरेनाको जुत्ता र पहिरनका तस्बिर र भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेका छन् । युएस ओपन २०२२ मा, महिला एकलको पहिलो राउण्डमा, सेरेनाले मोन्टेनेग्रोकी खेलाडी डन्का कोभिनिचको सामना गरिन्, जसले ८०औँ वरियताकी डन्कालाई सीधा सेटमा ६-३, ६-३ ले पराजित गरिन्। अमेरिकाकी स्टार टेनिस खेलाडी सेरेना विलियम्सले यसअघि नै सन्यासको घोषणा गरिसकेकी छिन् । यो उनको अन्तिम ग्राण्डस्लाम प्रतियोगिता हुनेछ । जसमा उनले विजयी सुरुवात गरेकी छिन् । अब उनी उपाधि जितेर सन्यास लिन चाहन्छिन् । पिपल म्यागजिनका अनुसार सेरेना विलियम्सले म्याचमा हातले डिजाइन गरिएको नाइकी जुत्ता लगाएकी थिइन्। सेरेनाको पहिलो खेल हेर्न पूर्व अमेरिकी राष्ट्रपति बिल क्लिन्टन, मार्टिना नवरातिलोभा, माइक टायसन, सेरेनाकी हजुरआमा र छोरी पनि उपस्थित थिए । सेरेनाले १७ वर्षको उमेरमा सन् १९९९ मा युएस ओपनको उपाधि जितेकी थिइन् । खेल जितेपछि ६ पटकको युएस ओपन च्याम्पियन सेरेनाले भनिन्, ‘जब म कोर्टमा आइपुगेँ, दर्शकले जसरी स्वागत गरे त्यसबाट म निकै खुसी भएँ । म यसलाई कहिल्यै भुल्ने छैन।’ सेरेनाले सन् १९९९ मा युएस ओपनको पहिलो उपाधि जित्दा कपालमा सेतो मोती लगाएर खेलमा प्रवेश गरेकी थिइन् । अब ४० वर्षको उमेरमा सेरेनाले हिरा जुत्ता लगाएर आफ्नो अन्तिम प्रतियोगितालाई यादगार बनाएकी छिन् ।
हतकडी लगाएका व्यक्ति नदीमा हाम फालेर फरार धनगढी । कैलालीमा एक व्यक्ति हत्कडि सहित नदीमा हामफालेर फरार भएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार जोशीपुर गाउँपालिका–४ का २८ वर्षीय शंकर चौधरी हत्कडि सहित नदीमा हाम फालेर फरार भएका हुन् । फरार भएका चौधरीलाई उनका बुबा शम्भु चौधरीले कुटपिट गरेको अभियोग लगाएपछि प्रहरीले पक्राउ गरेको हो । शुक्रबार पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय जोशीपुरमा लैजाने क्रममा पथरैया खोलामा हाम फालेर उनी फरार भएका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए । उनको खोजिकार्यका लागि इलाका प्रहरी कार्यालय जोशीपुर र इलाका प्रहरी कार्यालय भजनीबाट प्रहरी टोली परिचालन गरिएको छ ।
फिनल्यान्डकी प्रधानमन्त्रीप्रति ऐक्यबद्धता जनाउदै विश्वभरका महिलाले सेयर गरे नाचेको भिडियो हेलसेन्की। फिनल्यान्डकी प्रधानमन्त्री सान्ना मारिन यस हप्ता आलोचनामा परेपछि विश्वभरका महिलाहरूले सामाजिक सञ्जालमा ऐक्यबद्धता देखाउँदै आफूले नाचिरहेको भिडियो सेयर गरेका छन्। उनी साथीहरूसँग मातेको अवस्थामा नाचेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनको समर्थनमा प्रधानमन्त्रीको नक्कल गर्दै विभिन्न देशका महिलाले भिडियो बनाएका हुन्। उनको भिडियो सार्वजनिक भएपछि प्रधानमन्त्रीले लागू औषध सेवन गरेको हुन सक्ने भन्दै त्यसको परीक्षण गर्न माग गरिएको थियो। परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ। सन्ना मारिनको ड्रग टेस्टमा नेगेटिभ रिपोर्ट आएपछि धेरै महिलाहरूले ’सन्नासँग एकता’ ह्यासट्यागको साथ भिडियोहरू पोस्ट गरे। केही विरोधीले बहालवाला प्रधानमन्त्री उक्त बानीको अलोचना गरे पनि यसप्रति सामाजिक सञ्जालमा महिला उनको पक्षमा उभिएका छन्। भिडियोमा महिलाहरूले आफ्ना घर वा सार्वजनिक स्थानमा नृत्य गरेको देखिन्छन्। एक प्रयोगकर्ता सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियो क्याप्सनले प्रधानमन्त्रीप्रति ऐक्यबद्धा गरेको पुष्टि हुन्छ। ‘हामी सबैले अलि बढी नाच्नु पर्छ! म सन्नासँग एकतामा खडा छु।’ सान्ना मारिनलाई समर्थन जनाउने विभिन्न देशका महिला राजनीतिज्ञ पनि छन्। अस्ट्रेलियाकी संसद सदस्यले नृत्य गरेको तस्बिर ट्विटरमा पोस्ट गर्दै लेखेकी छिन्, ‘ यदि पार्टीमा बाफ छोड्नु तपाईको प्रधानमन्त्रीले गरेको सबैभन्दा नराम्रो काम हो भने, तपाई धेरै भाग्यशाली हुनुहुन्छ।’ If letting off steam at a party is the worst thing your prime minister has done, then you’re a pretty lucky country. 🇫🇮 #solidaritywithsanna pic.twitter.com/0jGJBKuZ0M — Fiona Patten MP (@FionaPattenMLC) August 22, 2022 युरोपेली संसदकी सदस्य, टिली मेट्जले पनि मारिनसँग ऐक्यबद्धता जनाउँदै सार्वजनिक वातावरणमा नाचिरहेको भिडियो सेयर गरेकी छिन्। ‘राइट टु डान्स’ र ‘राइट टु डिसकनेक्ट’ ह्यासट्यागको साथमा उनले भनिन्, ‘महिला राजनीतिज्ञ आफ्नो सप्ताहन्तमा साथीहरूसँग नाँच्दा तपाईलाई समस्या छ भने तपाइँमा समस्या हो, राजनीतिज्ञमा होइन। हामी अझ बढी नाच्नु पर्छ।’ Finland’s Prime Minister @MarinSanna is in the headlines after a video of her partying was leaked today. She has previously been criticized for attending too many music festivals & spending too much on partying instead of ruling. The critics say it’s not fitting for a PM. pic.twitter.com/FbOhdTeEGw — Visegrád 24 (@visegrad24) August 17, 2022
गृहमन्त्रीको पिएसओ कार्कीमाथि अनुसन्धान काठमाडौं । नेपाल प्रहरीले गृहमन्त्री बालकृष्ण खाणको ‘सुरक्षा समूह’मा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक टङ्क कार्कीमाथि अनुसन्धान थालिएको स्पष्ट पारेको छ । केही दिनदेखि छापा तथा अनलाइनमा ‘सुन तस्करसँग गृहमन्त्रीको सुरक्षार्थ खटिएका पिएसओ टङ्क कार्कीको संलग्नता’ भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै प्रहरीले उक्त विषयमा छानबिन तथा अनुसन्धान भइरहेको जनाएको हो । केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले आज एक विज्ञप्ति जारी गरी कार्कीलाई प्रहरी प्रधान कार्यालय सुपरिवेक्षण तथा अनुगमन महाशाखामा झिकाई छानबिन तथा अनुसन्धान भइरहेको जनाएका छन् । “छानबिन तथा अनुसन्धानपश्चात् उनी दोषी देखिए कानूनबमोजिम कारबाही गर्ने व्यहोरासमेत अनुरोध गर्दछु”, राईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बालकोट पुगिन् ओलीकी छोरी! मुगु । मुगु जिल्लामा प्रधानमन्त्रीकि छोरी भनेर चिनिने एक बालिका काठमाडौंस्थित बालकोट पुगेकी छन् । जिल्लाको मुगुम कार्मारोङ गाउँपालिका वडा नं ८ माग्रींमा बस्दै आएकी उनलाई पूर्वप्रधामन्त्री केपी शर्मा ओलिले अभिभाकत्व ग्रहण गरेका थिए । उनै ठिल्ले साङमु लामा गत बुधबार बालकोट पुगेकि हुन् । कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल रारामा २०७५ सालमा रारा पर्यटन वर्षको कार्यक्रममा सहभागी हुन पुगेका तत्कालीन प्रधानमन्त्री ओली र उनकी पत्नी राधिका शाक्यले लामाको अभिभावकत्व ग्रहण गरेका थिए । उनकी धर्मपत्नी राधिका शाक्यले अर्की छोरी छिरिङ छेन्जोङ लामाको पनि अभिभावकत्व ग्रहण गरेकी थिइन् । उनीहरु दुबै बुधबार ओली निवास बालकट पुगेका हुन् । अभिभाकत्व ग्रहरणपछि लामो समयसम्म गाउँमा बस्दा दुवै लामालाई गाउँले र उनका साथीले प्रधानमन्त्रीकि छोरीको सम्बोधन गर्ने गरेका थिए । दुवै जनाको पालन पोषण र पढाइ सबैको जिम्मा लिने प्रतिवद्धता ओलीले गरेकाले छोरीलाई लिएर बालकोट पुगेको आमा छिजु लामाले बताइन् । ओलीले अभिभावकत्व ग्रहरण गरे पनि हालसम्म २ पटक मात्र १०\१० हजार नगद र एक पटक लत्ताकपडा मात्र सहयोग गरेका थिए । श्रीमानको मृत्यु भएको केही वर्ष भएको र पालन पोषणमा आफूलाई समस्या भएको उनले बताइन् । ओलीले बोलाएपछि उनीहरु काठमाडौं आएका थिए । ‘निकै खुसी लागेको छ । हामी त जन्माउने आमा भए पनि जीवनभरिको भविष्य बनाउने आमाबुबा छोरीले पाएको हुँदा खुसी लागेको छ । प्रधानमन्त्री भइसकेको मान्छेको जिम्मामा छोरीलाई छोड्न पाउँदा खुसी लागेको छ ।’ छिजुले भनिन् ।
‘महापुरुष’ बाट डेब्यु गर्दै अरुण क्षेत्री काठमाडौं। हाँस्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मुख्य भूमिका रहेको फिल्म ‘महापुरूष’ ले डेब्यु अभिनेता अरुण क्षेत्रीलाई चिनाएको छ । नयाँ पोस्टर सार्वजनिक गर्दै टिमले अरुणको क्यारेक्टरको बारेमा जानकारी दिएको छ । सार्वजनिक क्यारेक्टर पोस्टरमा अरुणले बाइक कुदाउँदै गरेको देख्न सकिन्छ । उनको पछाडि हरिवंश छन् । उनीहरू बाइकमा गुड्दै गर्दा स्पिड ब्रेकरमा बाइक पुगेपछिको दृश्यलाई क्यारेक्टर पोस्टर बनाइएको छ । उनले फिल्म विज्ञानको भूमिका निर्वाह गरेका छन् । उनी फिल्ममा हरिवंशका कान्छा छोरा हुन्छन् । उनी फिल्ममा अडिसनमार्फत सेलेक्ट भएका हुन् । ‘मैले फिल्ममा काम गर्ने सोच बनाएपछि नै केही मेकर्ससँग काम गर्छु भन्ने सपना बोकेको थिएँ । त्यसमध्ये एक रवीन्द्र दाइ र प्रदीप दाइसहितको टिम थियो । उहाँहरूसँग जोडिन पाउँदा निकै उत्साहित छु,’ अरुणले भने । फिल्मका निर्मातासँगै कलाकारसमेत रहेका रवीन्द्रसिंह बानियाँले क्यारेक्टर चाहिएको जानकारी दिएपछि कास्टिङ डिरेक्टरको रूपमा काम गर्ने थियटर आर्टिस्ट सुदाम सिकेले नै अरुणको बारेमा जानकारी दिएका थिएँ । ‘हामीले क्यारेक्टर चाहियो भनेपछि सुदामले उनको बारेमा जानकारी दिए । पछि अडिसन भयो । उनले भूमिकालाई जीवन्त बनाएपछि हामीले सेलेक्ट गरेका हौँ,’ बानियाँले भने । अडिसनमै अरुण अन्तिम समयमा पुगेका थिए । ‘म लगभग अन्तिममा पुगेको थिएँ । हरि बासँग मैले दृश्य गरेर अडिसन दिनुपर्ने थियो । त्यो नै मेरो स्क्रिन टेस्ट पनि थियो । त्यहाँ गरेको अभिनयले मलाई फिल्ममा सेलेक्ट गरायो,’ अरुणले भने । त्यसो त अडिसन भएको एक हप्तापश्चात उनलाई ‘सेलेक्ट’ भयौ भन्ने जानकारी आएको थियो । यद्यपि दोस्रो लकडाउन भएपछि प्रोजेक्ट ढिला भयो । प्रोजेक्ट ढिलो हुँदा अरुणलाई काम गर्न पाइन्छ भन्नेमा शंका लाग्यो । ‘मैले धेरै अडिसन दिएको थिएँ । धेरै अडिसनले मलाई रिजल्ट दिएन । मैले २० भन्दा बढी अडिसन दिएको छु,’ उनले भने । त्यसो त अरुणको ‘कन्फीडेन्ट’ ले नै फिल्ममा उनलाई सेलेक्ट गरायो । ‘हरि दाइसँग अभिनय गर्दा देखिएको आत्मविश्वासले हामीलाई उनमा कलाकार देखायो । उनले गरिरहेको मेहनत मात्र नभई काम पनि प्रशंसनीय छ । उनले अभिनयमा देखाइएको आत्मविश्वास गज्जब छ । एउटा राम्रो अभिनेता बन्नेछन् अरुण,’ रवीन्द्रले भने । फिल्मसम्बन्धी अध्ययन गरेर नै अभिनयमा आएका अरुणले अभिनय गरेको पहिलो फिल्म ‘आइएम ट्वान्टी वान’ हो । फिल्म आउँदो ११ कात्तिक अर्थात् भाइटीकाको भोलिपल्ट प्रदर्शन हुँदैछ । सामाजिक विषयवस्तुमा आधारित ड्रामामा मदनकृष्ण र हरिवंशसँगै गौरी मल्ल, अरुण क्षेत्री, अञ्जना बराइली, रवीन्द्रसिंह बानियाँ, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, प्रज्वल पराजुलीलगायतको अभिनय छ । फिल्ममा प्रदीप भट्टराईको लेख्न र निर्देशनसमेत रहेको छ । सोसल ड्रामा ‘महापुरूष’मा समाजले मान्छेलाई महापुरूष बनाउने स्थिति व्यंग्य गरिएको छ । निर्देशक भट्टराईले जात्रा, शत्रुगते र जात्रैजात्रामार्फत आफूलाई निर्देशकमा स्थापित गरिसकेका छन् । उनले डेब्यु फिल्म ‘जात्रा’ देखि नै दर्शकको विश्वास जिते । शत्रुगतेबाहेक जात्रा सिरिजलाई समीक्षकले पनि रुचाए । यिनै भट्टराई अब चौथो फिल्म लिएर आउँन लागेका हुन् । उनी यसपटक यसअघिका फिल्मभन्दा झनै कन्फिडेन्ट छन् । षट्कोण आर्ट्स प्रा.लि.को व्यानारमा निर्मित फिल्ममा कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री छन् । षट्कोण आर्ट्सले यसअघि टलकजङ भर्सेस टुल्के, जात्रा र जात्रै जात्रा फिल्म निर्माण गरेको छ । कलाकारसमेत रहेका रवीन्द्र कथावस्तुले दर्शकलाई छुनेमा विश्वस्त छन् । ‘सामाजिक कथावस्तुमा फिल्म बनाएका छौँ । आफ्नै मौलिक कथा र नाम महापुरूष राखेका छौँ । हामीले अघिल्लो गरेका कामहरूभन्दा यसपटक झनै माझिएका छौँ,’ उनले भने । फिल्ममा दीपक बज्राचार्यको छायांकन, मित्र डी. गुरुङको सम्पादन छ । यही फिल्मबाट कवि नवराज पराजुलीले पनि गीतकारको रूपमा फिल्ममा डेब्यु गर्दै छन् । चारवटा गीत रहने फिल्मका चारै गीत नवराज पराजुलीले लेखेको र संगीत ऋदम कँडेलको छ ।
पूर्वन्यायाधीशलाई अन्य नागरिकसरह स्वतन्त्रता काठमाडौं। सर्वोच्च अदालतले न्यायाधीश वा पूर्वन्यायाधीशलाई आमनागरिकसरह विचार एवं अभिव्यक्ति राख्ने स्वतन्त्र रहने ठहर गरेको छ । चार पूर्वप्रधानन्यायाधीशले संसद् विघटन विषयमा सार्वजनिक रूपमा धारणा राखेपछि यस विषयमा परेको रिट सुुनुवाइ गर्दै ‘पूर्वन्यायाधीश आफ्ना धारणा राख्न स्वतन्त्र हुने ठहर’ सर्वोच्चको संवैधानिक इजलासले गरेको हो । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू मीरा खड्का, हरिकृष्ण कार्की, विश्वभरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडासम्मिलित संवैधानिक इजलासले अधिवक्ता डा. गणेश रेग्मीद्वारा दायर रिटमा सुनुवाइ गर्दैै सो फैसला गरेको छ । अधिवक्ता डा. गणेश रेग्मीले दायर गरेको रिट निवेदनको फैसलाको पूर्णपाठमा ‘संवैधानिक इजलासले कुनै पनि सर्तमा न्यायाधीश, पूर्वन्यायाधीशहरूले अभिव्यक्ति राख्ने अधिकार रोक्न नमिल्ने’ ठहर अदालतले गरेको हो । सर्वोच्च अदालतको प्रधानन्यायाधीश भएका व्यक्तिले सार्वजनिक अभिव्यक्ति दिँदा ‘न्यायमा असर पुुग्ने र मुद्दा प्रभावित पार्न खोजेको’ भन्दै अधिवक्ता रेग्मीले रिट दिएका थिए । ‘न्यायाधीशलाई चौतर्फी रूपमा बन्धनमा राखेर अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाएर, विचारको बन्धक बनाएर न न्यायपालिका स्वतन्त्र रहन सक्छ, न त निष्पक्ष र सक्षम न्यायपालिका कायम हुन सक्छ,’ फैसलाको पूर्णपाठमा भनिएको छ, ‘यथार्थमा प्रस्तावनामा उल्लेख भएको उपरोक्तअनुसारको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका भन्ने अभिव्यक्तिको अन्तर्यमा विचारको आदानप्रदान सिलसिला उदार र खुला रहेको उत्तरदायी तथा स्थापित न्यायिक मूल्य मान्यताबाट निर्देशित आधुनिक न्यायपालिकाको परिकल्पना गरिएको कुरा अन्तर्निहित रहेको देखिन्छ ।’ सर्वोच्चको फैसलामा ‘बहालवाला न्यायाधीशमा समेत उपरोक्तअनुसारका स्वतन्त्रता रहेको हुन्छ भने सेवा निवृत्त न्यायाधीशको अभिव्यक्ति स्वतन्त्रतामा संकुचन आउन सक्नेतर्फको सोच वा चिन्तनको कुनै अर्थ रहँदैन । निःसन्देह सेवा निवृत्त न्यायाधीशले तुलनात्मक रूपमा बहालवाला न्यायाधीशले भन्दा अझ फराकिलो र आमनागरिकसरह अभिव्यक्ति स्वतन्त्रताको उपभोग गर्न पाउने नै हुन्छ’ उल्लेख छ । संविधानको धारा १७ मा ‘कानुनबमोजिमबाहेक कुनै पनि व्यक्तिलाई वैयक्तिक संकचित गरिनेछैन’ भन्ने प्रावधानसमेत रहेका स्वतन्त्र प्रकारका स्वतन्त्रताका कुरा समेटिएका छन् (क) विचार र अभिव्यक्तिको स्वतन्त्रता (ख) बिनाहातहतियार शान्तिपूर्वक भेला हुने स्वतन्त्रता (ग) राजनीतिक दल खोल्ने स्वतन्त्रता (घ) संघ र संस्था सोन्ने स्वतन्त्रता, (ङ) नेपालको कुनै पनि भागमा आवतजावत र बसोबास गर्ने स्वतन्त्रता, (च) नेपालको कुनै पनि भागमा पेसा रोजगार गर्ने र उद्योग, व्यापार तथा व्यवसायको स्थापना र सञ्चालन गर्ने स्वतन्त्रता सेवा निवृत्त न्यायाधीशले उपभोग गर्न नपाउने पनि सर्त बन्देज लगाउन सकिने गरी उक्त धारा १७ को प्रतिबन्धात्मक वाक्यमा कहीँकतै उल्लेख गरिएको देखिँदैन’ भनिएको छ । ‘संविधानको दायराभित्र रहेर विधायिकाले निर्माण गरेको कानुनद्वारा व्यवस्थित र नियमन नगरिएको कुरामा पूर्वन्यायाधीश या राज्यको कुनै पूर्वपदाधिकारी रहेको भन्ने आधारमा निजको अभिव्यक्ति स्वतन्त्रतामा सीमा बन्देज लगाउने कुनै पनि प्रकारको चेष्टा संविधान प्रतिकूत, अनुचित, अस्वीकार्य र आपत्तिजनक विषय बन्न पुग्दछ,’ सर्वोच्चको फैसलामा भनिएको छ, ‘त्यसप्रकारका काम कारबाही, क्रियाकलाप वा चेष्टालाई यस अदालतले कुनै रूपमा पनि मान्यता दिन वा वैधता प्रदान गर्न सक्दैन ।’ फैसलाको पूर्णपाठमा ‘न्यायाधीशको आचारसंहितामा उल्लेख भएका प्राधानका दृष्टिले हेर्दा पनि सेवानिवृत्त न्यायाधीशले अन्य नागरिकसरह विचार र अभिव्यक्तिको स्वतन्त्रता वा कुनै संघसंस्था खोल्ने वा सदस्य हुने वा भेला हुने अधिकार शब्द छन् भन्ने देखिन्छ’ उल्लेख छ । ‘वहालवाला न्यायाधीशमा पनि त्यसप्रकारको स्वतन्त्रता रहन्छ तर त्यस्तो अधिकारको प्रयोग गर्दा बहालवाला न्यायाधीशले सदा न्यायिक पदको गरिमा र न्यायपालिकाको स्वतन्त्रता एवं निष्पक्षता जोगाई राख्नेगरी गर्नुपर्छ,’ फैसलामा भनिएको छ, ‘न्यायाधीशले न्यायिक हैसियतले कार्य गर्दा प्राप्त गरेको गोप्य सूचना न्यायिक कर्तव्यपालन गर्दाबाहेक अन्य उद्देश्यका लागि प्रयोग गर्न वा खुलासा गर्न हुँदैन । न्यायाधीशको आचारसंहिताले निषेध गरेको वा सीमा निर्धारण गरेको कुरा यही नै हो ।’ फैसलामा ‘यदाकदा राष्ट्रिय सुरक्षा वा यस्तै विशेष महत्वपूर्ण र कानुनबमोजिम गोपनीयता कायम गर्नुपर्ने प्रकृतिका संवेदनशील सूचना पनि न्यायाधीशको जानकारीमा आएका हुन सक्छन् । त्यसप्रकारको कानुनले सार्वजनिक गर्न निषेध गरेको विशेष प्रकारको सूचनासम्म न्यायाधीशले खुलासा या सार्वजनिक गर्न नहुने हो । यसबाहेकको कुरामा न्यायाधीशको आचारसंहितामा कुनै निषेधित अवस्था उल्लेख गरिएको देखिँदैन,’ भनिएको छ । सर्वोच्चले फैसलामा ‘सेवानिवृत्त न्यायाधीशको स्वतन्त्रताको दायरा बहालवाला न्यायाधीशको भन्दा सीमित या संचित किसिमको भर विस्तारित वा वा खुकुलो हुन्छ भन्ने दृष्टिकोण नै तार्किक देखिन्छ । निसन्देहः पूर्वन्यायाधीशहरूमा अभिव्यक्ति स्वतन्त्रता कायम रहेकै छ,’ उल्लेख छ । साथै, सर्वोच्चले ‘प्रचलित कानुन, न्यायप्रणाली, न्याय प्रशासन वा सोको कुशल व्यवस्थापन विषयमा कोही पूर्वन्यायाधीशबाट कुनै विचार अभिव्यक्त भएको रहेछ भने सो विचारलाई न्यायप्रणालीमा सुधार, शुद्धीकरण र परिमार्जनका लागि अभिव्यक्त गरिएका परिपक्व र स्वागतयोग्य विचारका रूपमा ग्रहण गरिनु बुद्धिमत्तापूर्ण हुनेछ’ भनी व्याख्या गरेको छ । ‘त्यसप्रकारको अभिव्यक्तिबाट डराउने, तर्सने, भाग्ने, निषेधित गर्न खोज्ने वा पन्छिने गर्नु शोभनीय नहुने’ सर्वोच्चले उल्लेख गरेको छ । पूर्वन्यायाधीशको अभिव्यक्ति स्वतन्त्रता निषेध गरिनुपर्ने विषय नभएर हार्दिकतापूर्वक स्वागत गरी स्वीकार गरिनुपर्ने भएको सर्वोच्चले फैसलामा उल्लेख छ । ‘यसलाई सुसूचित, ओजपूर्ण र व्यावहारिक अनुभूतिसहितको नागरिक अभिव्यक्तिका रूपमा ग्रहण गरिनुपर्छ,’ फैसलाको पूर्णपाठमा भनिएको छ, ‘हामीले अपनाएको लोकतन्त्रमा नागरिक अभिव्यक्तिउपरको मौसम बेमौसमको सर्त वा बन्देज स्वीकार्य बन्दैनन् । हुकुमी वा तानाशाही शासन प्रणालीमा मात्रै नागरिक अभिव्यक्तिउपर सीमा वा बन्देज निर्धारण गर्ने गरिन्छ ।’ राजधानी दैनिकबाट
पानीको भाँडोमा डुबेर सोलुखुम्बुको बालिकाको मृत्यु सोलुखुम्बु । सोलुखुम्बुको लिखुपिके गाउँपालिका-३ चौलाखर्कमा पानीको भाँडोमा डुबेर एक बालिकाको ज्यान गएको छ । ज्यान गुमाउनेमा लोक बहादुर भुजेलकी तीन वर्षीया छोरी सौगात रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । आइतबार साँझ घरमा कोही नभएको समयमा आँगनमा राखिएको पानीको भाँडोमा डुबेर बालिकाको ज्यान गएको प्रहरीको भनाइ छ ।
नेपालको राजनीतिमा ‘म’वादी सँस्कृति बढ्यो : अध्यक्ष नेपाल काठमाडौं । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले पार्टी सदस्य लिँदा लिएको प्रतिबद्धतालाई नभुल्न आग्रह गरेका छन् । नेकपा एस निकट उपत्यका युवा विशेष जिल्ला कमिटीद्वारा आयोजित कार्यक्रममा उनले यस्तो आग्रह गरेका हुन् । पार्टीमा आबद्ध हुने क्रममा क्रान्तिकारी बन्ने, देश र जनताप्रतिको दायित्व कहिल्यै नबिर्सने, माक्र्सवादको प्रचार गर्नेजस्ता प्रतिबद्धाता बिर्सनु नहुनेको उनको भनाइ छ । उनले कार्यक्रममा नेपालका कम्युनिष्ट पार्टीहरू जहिले पनि देशमा आएका संकट टार्न अग्रसर भएको बताए । राणा सासनविरुद्ध होस वा पञ्चायती व्यवस्थाको विरुद्धमा नै किन नहोस् कम्युनिष्ट पार्टीहरूको योगदान अतुलनिय छ । उनले अहिले नेपालको राजनीतिमा ‘म’वादी सँस्कृति बढेको र ‘हामी’ वादी संस्कृति हराउँदै गएको बताए । ‘म’ वादीहरूमा आफूभित्र भएका कमजोरी पहिल्याउने र सुधार गर्ने क्षमता हुँदैन । उनले भने, ‘लामो राजनीतिक यात्रा नभएका मानिसले आफ्नो कमजोरी देख्दैन । तपाई राजनीतिमा लामो यात्रा गर्ने वा क्षणिक आफै निर्णय गर्नुहोस् ।’
कोभिडबाट तपाइँ अहिलेसम्म बचिरहनुभएको छ भने किन ? जान्नुहोस् पाँच कारण काठमाडौं । तपाईको परिवारमा वा साथीभाइमा अहिलेसम्म कोरोना भाइरसबाट सङ्क्रमित नभएको कोही हुन सक्ने सम्भावना छ । तपाईलाई लाग्न सक्छ कि उनीहरूसँग या त महाशक्ति छ वा उनीहरूलाई थाहा छैन कि कसरी कोभिड परीक्षण राम्रोसँग गर्ने। तर सम्भावना यो छ कि या त तिनीहरू भाग्यशाली छन् वा केवल विज्ञानको कारणले यस्तो अहिलेसम्म भएको छैन। त्यसोभए हामी तपाईलाई ती पाँच कारणहरू बताइरहेका छौं जसको कारणले त्यस्ता मानिसहरूलाई अहिलेसम्म कोभिड छैन। १. संयोग यो हुन सक्छ कि अहिलेसम्म कोभिडबाट बचेकाहरूले लकडाउन अघि ती सुपर स्प्रेडर पार्टीहरूमा भाग लिएका छैनन्। यी मानिसहरू सधैं त्यो सार्वजनिक यातायातमा चढेको हुनुपर्छ जसमा कोविड यात्रु थिएनन् । ती बैठकमा त्यस्ता व्यक्तिहरु सहभागी भएको हुनसक्छ तर कोभिड संक्रमित व्यक्ति आउनुअघि नै त्यहाँबाट निस्किसकेका थिए । यस्तो लाग्दैन, तर यो सत्य हो कि कोरोना संक्रमणको समयमा केही मानिसहरु महिनौं यसरी नै भाग्यमानी भएका छन् । २: जनसंख्या भाइरसले एक व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण गर्ने भएकाले यसको पछाडिको सम्भावित कारण जनसंख्या हुन सक्छ। भाइरस फैलाउनको लागि वाहक चाहिन्छ, तर यदि त्यो वाहक वा होस्टको शरीरबाट भाइरस निस्कियो भने भाइरस मर्छ। कोभिड–१९ को लहरले धेरैलाई सङ्क्रमित गरेको छ । तपाईसम्म पुग्नु भन्दा पहिले नै यसले धेरैलाई धेरै बिरामी बनाएको छ तर त्यो भाइरस उपचारको क्रममा उनीहरूकै शरीरमा अन्त्य भयो। यो पनि संयोग मात्र हो तर यसको पछाडी पनि विज्ञान छ । ३: खोप खोपले तपाईंको शरीरमा एन्टिबडीहरू उत्पादन गर्छ। भाइरसले तपाईंको शरीरमा प्रवेश गर्ने प्रयास गर्ने बित्तिकै तपाईंको शरीरले यसलाई आक्रमण गर्छ। एन्टिबडीहरूले रोगलाई तपाईंको शरीरमा अगाडि बढ्न गाह्रो बनाउँछ। तर, समयसँगै संक्रमण रोक्ने खोपको क्षमता पनि घट्दै जान्छ। यसको मतलब यो हो कि सम्पूर्ण महामारीको समयमा खोपले तपाईलाई पूर्णतया सुरक्षित गर्न सक्षम हुनेछैन। साथै, खोपबाट उत्पन्न एन्टिबडी कोरोनाको नयाँ संस्करणमा त्यति प्रभावकारी छैन । अर्थात्, नयाँ भेरियन्टहरू तपाईंको शरीरको प्रतिरक्षा प्रणालीलाई छल्न बढी सक्षम छन्। तर सायद यो खोप कतिपय मानिसमा एकपटक पनि संक्रमित नभइसकेको अवस्थामा प्रभावकारी हुन्छ । ४: जन्मजात प्रतिरक्षा कहिलेकाहीँ तपाईको शरीरले भाइरसलाई ठूलो संख्यामा बढ्नु अघि मार्न सक्छ। त्यसैले खोप लगाएका मानिसहरू कोभिडको सम्पर्कमा आए पनि सधैं सङ्क्रमित हुँदैनन्। यो जन्मजात प्रतिरक्षाको कारण हो र यो हाम्रो शरीरमा अवस्थित पहिलो लाइन प्रतिरक्षा प्रणाली हो। यसको शक्ति व्यक्ति अनुसार फरक हुन्छ र हामीलाई थाहा छैन किन । यस विषयमा विज्ञानसँग धेरै जानकारी छैन। ५: तपाईंलाई भइसक्यो तर तपाईंलाई थाहा छैन हामी पाँचौं र अन्तिम कारण बताइरहेका छौं कि तपाईलाई कोभिड भएको हुन सक्छ, तर तपाईलाई थाहा नहुन सक्छ। कोविड भएको हुनसक्छ, तर तपाईमा कुनै लक्षण छैन र तपाईले कुनै परीक्षण पनि गर्नुभएको छैन। यसको सबैभन्दा धेरै सम्भावना छ। यस्तो अवस्थामा, तपाईलाई थाहा छैन कि तपाईलाई कहिले कोभिड थियो। अब तपाईले आफ्नो परिक्षण नगराएकाले तपाई आफैं स्प्रेडर बन्नुभयो। यदि तपाईलाई अहिलेसम्म कोभिड भएको छैन भने, तपाई धेरै भाग्यशाली हुनुहुन्छ। यद्यपि, नयाँ संस्करणहरूले तपाईंको शरीरको पुरानो संक्रमण वा खोपद्वारा उत्पादित एन्टिबडीहरूलाई फिल्टर गर्न सक्षम हुन सक्छ। यस्तो अवस्थामा, वैज्ञानिकहरू भन्छन् कि कोभिडले अन्ततः हामी सबैलाई संक्रमित गर्नेछ, चाहे रोग गम्भीर होस् वा नहोस्। महत्त्वपूर्ण कुरा यो हो कि यो भाइरसले हामी मध्ये धेरैलाई धेरै अस्वस्थ बनाउँदैन।
लमजुङको घनपोखरामा जीप दुर्घटना, १० जना गम्भीर घाईते लमजुङ । लमजुङको मस्याङ्दी गाउँपालिका-२ घनपोखरामा बुधबार दिउँसो जीप दुर्घटना हुँदा १० जना गम्भीर घाईते भएका छन् । बेसीसहरदेखि घनपाेखरा जाँदै गरेकाे ग १ ज ७४१७ नम्बरको जीप घनपाेखराकाे भाचेस्थित सडकबाट बीस मिटर तल खसेकाे थियाे । दुर्घटनामा परि १५ जना घाईते भएका छन् । घाईते मध्ये १० जना गम्भीर घाईते भएका छन । घाइतेको प्रहरी र स्थानीय मिलेर उद्दार गरेकाे स्थानीय राम गुरूङले बताए । घाईतेलाई ४ वटा जीपमा उद्दार गरि लमजुङ जिल्ला अस्पताल ल्याउदै गरिएको लमजुङका प्रहरी प्रमुख डिएसपी प्रकाश श्रीमलले बताए । घाईते सबै स्थानीय रहेपनि नामथर खुल्न सकेकाे छैन ।
पदक विजेता खेलाडी र सदस्य सचिवबीच भेटवार्ता काठमाडौं । एक महिनाअघि माल्दिभ्समा आयोजना भएको ५४ एसियन शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिपमा पदक विजेता खेलाडीले बुधबार राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङसँग भेटवार्ता गरेका छन् । भेटवार्ता गर्नेमा उमेश राई, राजु राई र सुजिता मानन्धर रहेका छन् । ४ साउनमा सुरू भएको च्याम्पियनसिपमा नेपालका २ पुरुष र १ महिला गरि तीन खेलाडीले सहभागिता जनाएकोमा एक रजत र एक काँस्य पदक पाएका थिए । जसमा उमेश राईले ८० केजी तौल समूहमा रजत र फिटनेस फिजिकको १७० सेमिमा राजु राईले काँस्य पदक प्राप्त गरेका थिए । यस्तै, महिला एथ्लेटिक फिजिकमा प्रतिस्पर्धा गरेकी सुजिता मानन्धरले छैँटौँ स्थान प्राप्त गरेकी थिइन् । यसै अवसरमा नेपाल शारीरिक सुगठन संघले राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिवलाई मालदिभ्समा आयोजना भएको ५४औँ एसियन शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिपका विविध पक्षलाई समेटर तयार पारिएको प्रतिवेदन नेपाल शारीरिक सुगठन तथा फिजिकल फिटनेसका अध्यक्ष राशेजबाबु श्रेष्ठले सदस्य सचिवलाई बुझाएका हुन् । सो कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष विजयलाल कायस्थ, उपाध्यक्ष दिनेश राजभण्डारी र महासचिव राजन श्रेष्ठको उपस्थिति थियो । ५५औँ संस्करण नेपालमा आयोजना हुने कार्यक्रम छ ।
काबुल र वरपर तालिबान शासनको एक वर्ष कस्तो रह्यो लिस डुसेट, काबुल (बीबीसी) । काबुल अन्तर्राष्ट्रिय विमानस्थल पुगेपछि तपाईँले याद गर्ने सबैभन्दा पहिलो कुरा राहदानीमा छाप लगाइरहेका खैरो स्कार्फ र कालो लुगा लगाएका महिलाहरू हुन्। एक वर्ष अघि देश छोड्न आतुर मानिसहरूको भीडले भरिएको यो हवाई क्षेत्र अहिले शान्त र सफा छ। यहाँ अहिले लहरै राखिएका तालिबानका सेता झन्डाहरू फहराउँछन् र पुराना प्रसिद्ध मानिसहरूका अनुहार देखिने बोर्डहरू अरू नै रङ्गले ढाकिएका छन्। तालिबानले सत्ता पल्टाएको यो देशमा अरू के के परिवर्तन भएका छन्? महिलाको जागिर पुरुषलाई दिन भनिन्छ सन्देशहरू चकित बनाउने किसिमका छन्। “उनीहरूले मेरो जागिर भाइलाई दिन भने,” एक महिलाले सन्देश आदानप्रदान गर्ने माध्यममा लेखिन्। “हामीले अनुभव र शिक्षाले आफ्नो पद हासिल गरेका हौँ। हामीले यस्तो स्वीकार गर्नु भनेको आफैँलाई धोका दिनु हो,” अर्की महिलाले घोषणा गरिन्। म अर्थ मन्त्रालयका केही पूर्व वरिष्ठ अधिकारीहरूसँग बसिरहेकी छु। उनीहरूले यी सन्देशहरू मलाई देखाइरहेका छन्। उनीहरू गत वर्ष तालिबानले सत्ता हातमा लिएपछि जागिरमा प्रतिबन्ध लगाएर घर पठाइएका ६० जना महिलाहरूमध्येका हुन्। जसमध्ये अधिकांश अफगानिस्तानको राजश्व निर्देशनालयमा कार्यरत थिए। आफूहरूलाई जागिरबाट निकालिएपछि जागिरमा आवेदनका लागि आफ्ना पुरुष आफन्तको व्यक्तिगत विवरण पठाउन भनिएको उनीहरू बताउँछन्। “यो मेरो जागिर हो। यो जागिर पाउन र स्नातकोत्तरको उपाधिका लागि मैले १७ वर्ष ठूलो कठिनाइका साथ काम गरेकी छु। अहिले त्यो सबै शून्यमा फर्किएको छ,” आफ्नो परिचय नखुलाउन अनुरोध गर्दै उनले भनिन्। हामी अफगानिस्तान बाहिर रहेकी उक्त निर्देशनालयकी पूर्व निर्देशक अमिना अहमदीसँग टेलिफोनमा जोडियौँ। उनी अफगानिस्तान छाडेर बाहिरिन सफल भए पनि त्यो समाधान थिएन। “हामीले हाम्रो पहिचान गुमाइरहेका छौँ। हामीले यसलाई कायम राख्न सक्ने आफ्नो देशमा मात्रै हो,” उनी पछुताउँछिन्। यो समूहले एउटा ठूलो परिचय पाएको छ। ‘विमिन लिडर्स अफ अफगानिस्तान’ अर्थात् अफगानिस्तानका महिला नेतृहरू। यो परिचयले उनीहरूलाई शक्ति दिएको छ र उनीहरू आफ्नो जागिर फिर्ता चाहन्छन्। उनीहरू तिनै महिला हुन् जसले अफगानिस्तानले दुई दशकसम्म अन्तर्राष्ट्रिय संलग्नता बढाउँदा शिक्षा र रोजगारीको अवसर हात पारेका थिए। तालिबानले अफगानिस्तानमा अझै महिलाहरूले काम गरिरहेको बताएको छ। तर काम गर्ने अधिकांश स्वास्थ्य कर्मचारी, शिक्षाका कर्मचारी र सुरक्षाकर्मी छन्, जुन हामीले विमानस्थलमै देख्यौँ। कुनै समय अफगानिस्तानको सरकारी जागिरमा एक तिहाइ हिस्सा ओगटेका महिलाहरूलाई अझै पनि उनीहरूको तलबको केही मात्रा दिइरहेको तालिबानको दाबी छ। एक पूर्व कर्मचारीले आफूले लगाएको हिजावले पूरा टाउको नढाकिएको भन्दै तालिबानका गार्डले सडकमा रोकेको घटना सुनाइन्। “हिजाव भन्दा तिमीहरूले सुल्झाउनुपर्ने महत्त्वपूर्ण अरू समस्याहरू छन्,” आफ्नो अधिकारका लागि लड्न प्रतिबद्ध ती महिलाले प्रतिवाद गरिन्। ग्रामीण भेगमा भोकमरीको त्रास अफगानिस्तानको दुर्गम ग्रामीण उच्च भेगमा गहुँका बालाहरू झुलिरहेको दृश्य रमणीय देखिन्छ। यसमा १८ वर्षका नुर मोहम्मद र २५ वर्षका अहमद हँसिया चलाइरहेका छन्। “खडेरीका कारण यो वर्ष गहुँ कम फल्यो,” कलिलो अनुहार ढाकेको पसिना पुछ्दै नुरले सुनाए। हाम्रो पछाडि टाढा टाढासम्म गहुँ खेत फैलिएको छ। आफ्नो जीवनको महत्त्वपूर्ण उमेरका यी दुई युवाहरूले यहाँ दैनिक दुई डलर ज्यालामा १० दिनदेखि निरन्तर काम गरिरहेका छन्। “म इलेक्ट्रिकल इन्जिनियरिङ पढिरहेको थिएँ। तर परिवारलाई सहयोग गर्न पढाइ बीचैमा छाड्नुपर्‍यो,” नुर भन्छन्। उनको पश्चात्ताप अनुहारमै झल्किएको छ। अहमदको कथा उस्तै पीडादायक छ। “मैले इरान जानका निम्ति आफूसँग भएको मोटरसाइकल पनि बेचेँ तर त्यहाँ काम नै पाइएन,” उनले भने। छिमेकी इरानमा मौसमी काम अफगानिस्तानको यो गरिब गाउँका मानिसहरूका लागि एउटा समाधान थियो। तर इरानमा पनि काम पाइन छाडेको छ। “हामी तालिबान दाजुभाइहरूलाई स्वागत गर्छौँ। तर हामीलाई यस्तो सरकार चाहिएको छ जसले अवसर देओस्,” नुरले भने। हामीले त्यस दिन घोर प्रान्तमा तालिबानका गभर्नर अहमद साह दिन दोस्तसँग पनि कुरा गर्‍यौँ। तालिबान युद्धमा छाया सरकारका उपगभर्नर समेत रहेका उनले गरिबी, सडकको दुरावस्था, अस्पतालको अभाव र विद्यालयहरू राम्रोसँग सञ्चालन नभएको दुःख सुनाए। युद्ध समाप्तिसँगै यहाँ धेरै सहायता निकायहरूले काम गरिरहेका छन्। यो वर्षको सुरुमा घोरका दुई वटा दुर्गम जिल्लाहरूमा भोकमरी देखिएको थियो। तर गभर्नर दिन दोस्तका लागि युद्ध अझै सकिएको छैन। आफूलाई अमेरिकी सेनाले बन्दी बनाएको र यातना दिएको उनी बताउँछन्। “हामीलाई थप पीडा नदेऊ। हामीलाई पश्चिमाको सहयोग पनि चाहिँदैन,” उनले भने। पश्चिमाहरूले हस्तक्षेप गरिरहेको उनको गुनासो छ। उनको समूहका सदस्यहरूसँगै हामीले विद्यालय र कुपोषण क्लिनिकहरूको पनि भ्रमण गर्‍यौँ। विश्वविद्यालय शिक्षा लिएका तालिबानका युवा स्वास्थ्य निर्देशक अब्दुल सतार मापक अफगानिस्तानलाई थप सहायता चाहिएको र त्यसलाई राजनीतिसँग जोड्न नहुने व्यवहारिक कुरा गर्छन्। राम्रो विद्यार्थी कक्षा बाहिरै अठार वर्षकी सोहालिया निकै उत्साहित छन्। म उनलाई महिलाहरूले मात्र किनमेल गर्ने बजारको अँध्यारो भुईँतलासम्म पछ्याउँछु। पहिले कोभिड र पछि तालिबानले बन्द गराएको यो बजार पहिलो पटक खुलेको हो। अझै तयार भई नसकेको सिसाले ढाकिएको उनको पारिवारिक वस्त्रालयमा हामी पुग्छौँ। “यो पसल १० वर्ष अघि मेरी दिदी १८ वर्षको हुँदा सुरु भएको हो,” परम्परागत कुची पहिचान सिलाउने हजुरआमा र आमाकै पालादेखिको इतिहाससँगै उनले सुनाइन्। उनी दिदीले इन्टरनेट क्लब र रेस्टुराँ पनि खोलेकी थिइन्। महिलाहरूका लागि मात्रै तोकिएको यो ठाउँमा निकै चहलपहल छ। यो अँध्यारो ठाउँ अधिकांश समय घरमै बिताएका धेरै महिलाहरूका लागि उज्यालो लाग्छ। सोहालियाको अर्को पनि कथा छ। “तालिबानले माध्यमिक विद्यालय बन्द गरिदियो,” उनले सुनाइन्। “म कक्षा १२ मा पुगेकी छु। अब मैले यो उत्तीर्ण गरिनँ भने विश्वविद्यालय पढ्न पाउँदिन।” तालिबानका यथास्थितिवादी धर्मगुरुहरूको आदेशमा अधिकांश माध्यमिक विद्यालयहरू बन्द गरिएका छन्। कतिपय तालिबानकै नेताहरूले पनि विद्यालय खोल्नुपर्ने माग गरिरहेका छन्। उनी आफ्नो देश छोडेर अर्को देश जान पनि चाहँदिनन्। तर एक वर्षसम्म विद्यालय जान नपाउँदा उनलाई पीडा बोध भएको छ। “म मात्रै एक्लै छैन। अफगानिस्तानका सबै छात्राहरू छन्,” उनको गला अवरुद्ध भयो र आँखाबाट आँसु चुहिए। “म सबैभन्दा राम्रो पढ्ने विद्यार्थी थिएँ।”
अमेरिकाको टेक्सासमा बिकिनीमा बोल्ड स्वस्तिमा अभिनेत्री स्वस्तिमा खड्का यतिबेला अमेरिकामा छिन् । अमेरिकाको टेक्सासस्थित समुद्र किनारमा स्वस्तिमाले ‘बीच थेरापी’ लिइरहेको तस्वीर सार्वजनिक गरेर इन्टरनेटको गर्मी बढाएकी छिन् । पछिल्लो साय चपली हाइट ३ र चिसो मान्छे प्रदर्शनमा आएपछि स्वस्तिमा फुर्सदमा छिन् । यो समयको सदुपयोग गर्दै उनले समुद्र किनारमा रमाइलो गर्न पुगेकी हुन् । स्वस्तिमाले प्रिन्टेड क्याप र कालो विकिनीमा पोज दिइरहेकी छिन् ।
डेब्यु खेलमै दुई गोल गरेकी दीपा प्लेयर अफ दी म्याच काठमाडौं। नेपाल राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर दीपा न्यौपानेको दुई गोल प्रेरित डन बस्को फुटबल एकेडेमीले शनिबार भारतको केरेला महिला लिगमा पहिलो जित निकालेको छ। पहिलो जित निकाल्ने क्रममा दीपाले महत्त्वपूर्ण दुई गोल गरेपछि डन बस्कोले इमिरेट्स सकर क्लबलाई ५–२ ले हराएको थियो। नेपाल पुलिस क्लबकी मिडफिल्डर समेत रहेकी दीपा पहिलो खेलमा भने उपलब्ध भएकी थिइन्। दोस्रो खेलमा उपलब्ध भएकी दीपाले पहिलो एघारमै पूरा समय मैदान बिताइन्। खेलमा उत्कृष्ट प्रदर्शन गरेकी दीपा प्लेयर अफ दी म्याच घोषित भइन्। दीपाले पहिलो खेल राम्रो भएको र अन्य खेलमा समेत मेहनत गर्ने बताइन्।”डेब्यु खेलमै प्लेयर अफ दि म्याच भए । निकै खुसी छु। आगामी खेलमा मेहनत गर्दै सत प्रतिशत नतिजाको लागि खेल्छौ” दीपाले भनिन्। इमिरेट्सले खेलमा अग्रता बनाएपनी जोगाउन सकेन। बस्कोको जितमा दीपा सहित प्रेस्माले दुई गोल गरिन्। यस्तै, पुष्पाले अर्को गोल थपिन्। इमिरेट्सको लागि अनिथा र अल्फोन्सियाले एक एक गोल गरे । यस संगै बस्कोले दुई खेलबाट तीन अंक जोडेको छ।
एमालेलाई बहुमतबाट रोक्न मात्रै गठबन्धनको हल्ला भइरहेको छः केपी ओली काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्माले एमालेलाई बहुमतबाट रोक्नका लागि पाँच दलीय, आठ दलीय, वाम गठनबन्धन, मोर्चालगायत हल्ला फिजाइरहेको बताएका छन् । लोकतान्तित्रक शेर्पा सँघद्वारा शनिबार काठमाडौमा आयोजित कार्यक्रममा उनले जति दलीय गठबन्धन भए पनि देशलाई ओरालो लाग्न नदिन नेकपा एमाले र एमालेको सरकार मात्रै चाहिने दाबी गरे । उनले नेकपा एमाले देश बनाउने सर्तमा मात्रै सरकारमा जाने पनि बताए । दसैंमा केटाकेटी रमाएजस्तो वा ल्होसारमा केटाकेटी खुसी भएजस्तो खुसी मनाउन मात्रै एमाले सरकारमा नजाने बताए ।
लम्पी भाइरसका कारण १७ हजार गाइ मरे काठमाडौं । भारतमा पछिल्लो एक महिनामा १७ हजार भन्दा बढी घरपालुवा जनावरहरू लम्पी छाला रोगका कारण मरेका छन् र मर्ने जनावरमा जसमा धेरैजसो गाईहरू छन् । यो घातक भाइरसले गुजरात, राजस्थान र पञ्जाबलगायत देशका ८ राज्यमा गाईवस्तु मारिरहेको छ । लम्पी भाइरसका कारण गुजरातमा मात्रै दूधको उत्पादन दैनिक एक लाख लिटरले घटेको छ । भारतमा यसरी संक्रमण फैलिनि नेपालको लागि पनि ठूलो चिन्ताको विषय हुने गर्छ किनकि खुला सिमाका कारण यो नेपालमा सजिलै फैलिन सक्छ । लम्पी छाला रोग गाई र भैंसी जस्ता गाईवस्तुहरूमा क्याप्रिपक्स नामक भाइरसबाट लाग्ने रोग हो। यो एक जनावरबाट अर्को जनावरमा धेरै छिटो फैलिन्छ। यो भाइरस बाख्रामा गोटपक्स र भेडामा शिपपक्स जस्ता भाइरल संक्रमणका लागि जिम्मेवार भाइरससँग मिल्दोजुल्दो छ। क्याप्रिपक्स एउटै पक्सभिरिडे भाइरस परिवारबाट आउँछ जसले बिफर र मंकीपक्स जस्ता रोगहरू निम्त्याउँछ। स्वास्थ्य विशेषज्ञहरूले लम्पीलाई विश्वभरका गाईवस्तुहरूका लागि ठूलो खतराको रूपमा लिइरहेका छन्। यसले गाईलाई थप बिरामी बनाउँछ। तर, भैंसी, घोडा, ऊँट, जिराफ र हरिण पनि बिरामी पर्न सक्छन्। यस भाइरसबाट भैंसीको तुलनामा गाई बढी मर्छन् किनभने भैंसीको प्राकृतिक रोग प्रतिरोधात्मक क्षमता गाईको भन्दा बढी हुन्छ । लम्पी एक संक्रामक रोग हो। संयुक्त राष्ट्र खाद्य तथा कृषि सङ्गठन (एफएओ) का अनुसार लम्पी रोग लामखुट्टे, झिंगा, जुम्रा र फ्लीस जस्ता जीवहरूबाट सर्ने बिफर जस्तो रोग हो। विज्ञहरूका अनुसार यो रोग एक ठाउँबाट अर्को ठाउँमा जनावरको आवतजावतबाट पनि सर्छ । यो वर्षामा छिटो फैलिन्छ। उच्च ज्वरो र शरीरमा गाँठो हुनु यो रोगको सबैभन्दा ठूलो लक्षण हो। रोगी जनावरहरूमा बाँझोपन हुन सक्छ र यसले दूध उत्पादन क्षमता पनि घटाउँछ। संक्रमणपछि लक्षणहरू देखिन ४-७ दिन लाग्छ। यसलाई इन्क्युबेशन अवधि भनिन्छ। सुरुमा गाई वा भैंसीको नाकबाट सिँगान बग्न थाल्छ, आँखाबाट पानी बग्न थाल्छ र मुखबाट र्याल बग्न थाल्छ । यसपछि उच्च ज्वरो आउँछ, जुन करिब एक हप्तासम्म रहन सक्छ। त्यसपछि जनावरको शरीरमा १०-५० मिमीका गोलाकार गाँठहरू बाहिर आउँछन्। यससँगै उसको शरीरमा सुन्निने समस्या पनि आउँछ । चपाउन र निल्न समस्या हुन थालेपछि जनावरले खाना खान छोड्छ। यसले दूधको उत्पादन घटाउँछ। धेरै दुध दिने गाईको शारीरिक र मानसिक शक्ति दुध उत्पादनमा जाँदा कमजोर बन्ने भएकाले ती गाईलाई लम्पी हुने सम्भावना बढी हुन्छ । कहिलेकाहीँ लम्पीबाट पीडित गाईहरूको एक वा दुवै आँखामा गहिरो घाउ हुन्छ, जसले गर्दा उनीहरू अन्धो हुने जोखिममा हुन्छन्। कहिलेकाहीं बिफर घाउ पाचन, श्वासप्रश्वास र शरीरको लगभग सबै आन्तरिक अंगहरूमा हुन्छ। बाँझोपन र गर्भपतनको समस्या जनावरहरूमा देखिन्छ। जनावर धेरै कमजोर हुन्छ। यी लक्षणहरू ५ हप्तासम्म रहन्छ। उपचार गरिएन भने मृत्यु पनि हुनसक्छ । लम्पी संक्रमित गाईवस्तु निको हुन दुई हप्तादेखि एक महिना लाग्छ। साथै, यो रोगबाट गम्भीर रूपमा संक्रमित गाईवस्तुलाई भाइरसबाट पूर्ण रूपमा निको हुन करिब ६ महिना लाग्छ। एउटा जनावरबाट अर्को जनावरमा लम्पी भाइरस सर्ने दर ४५% छ, तर मृत्युदर ५ देखि १०% छ। विश्व पशु स्वास्थ्य संगठन (डब्लुओएएच) का अनुसार यस रोगबाट मृत्युदर ५% सम्म छ। एफएओका अनुसार लम्पीबाट हुने मृत्युदर १० प्रतिशतभन्दा कम छ। लम्पी भाइरस जनावरबाट मानिसमा सर्ने जुनोटिक भाइरस होइन त्यसैले यो मानिसमा भने सर्दैन । विज्ञहरूका अनुसार लम्पी संक्रमित जनावरको दुधलाई १०० डिग्री सेन्टिग्रेडमा तताउँदा अर्थात् राम्ररी उमालेर त्यसमा पाइने भाइरसहरू नष्ट हुन्छन्। हालसम्म लम्पीबाट सङ्क्रमित जनावरको दूध खाँदा मानिस बिरामी भएको घटना भने देखिएको छैन । यसको लागि कुनै विशेष एन्टिभाइरल औषधि उपलब्ध छैन। यसलाई फैलिनबाट रोक्ने एउटै उपाय भनेको सङ्क्रमित गाई र भैंसीलाई कम्तीमा २८ दिनसम्म अलग्गै राख्नु हो । यस अवधिमा तिनीहरूको लक्षणहरूको उपचार गर्नुपर्छ। शरीरमा रहेका गाँठहरूमा सबैभन्दा बढी ध्यान दिनुपर्छ, किनकि यसले अन्य संक्रमण र निमोनिया निम्त्याउन सक्छ। संक्रमित जनावरहरूको भोक कायम राख्न प्यारासिटामोल जस्ता एन्टि-इन्फ्लेमेटरी पेनकिलरहरू प्रयोग गरिन्छ। भारतमा, हाल, लम्पी विरुद्ध सुरक्षा गर्न गोटपक्स-भाइरस खोप दिइन्छ। राष्ट्रिय दुग्ध विकास बोर्डले गोटपक्स भ्याक्सिनको २८ लाख डोज गुजरात, राजस्थान र पञ्जाबमा पठाएको छ। केन्द्र सरकारले लम्पी प्रोब्याकइण्ड नामक लम्पीको लागि नयाँ स्वदेशी खोप लन्च गरेको छ। यो भारतीय कृषि अनुसन्धान परिषद् (आइसीएआर) को हिसार र बरेली एकाइद्वारा विकसित गरिएको हो। भारतमा लम्पी रोगको संक्रमणका कारण ठूलो संख्यामा गाई मरिरहेका छन् । जसका कारण धेरै राज्यमा दूधको उत्पादन घटेको छ । गुजरातमा मात्रै दैनिक १ लाख लिटर दूध उत्पादनमा कमी आएको छ । बाँकी प्रभावित राज्यको दूध उत्पादन पनि १०–१५ प्रतिशतले घटेको छ । लम्पी आइपुगेको लगत्तै संयुक्त राष्ट्र संघको निकाय एफओएद्वारा एक मूल्याङ्कन गरिएको थियो। यसका अनुसार लम्पी रोगका कारण भारत र दक्षिण पूर्व एसियामा करिब ११ हजार करोड रुपैयाँ नोक्सान हुन सक्नेछ ।
केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने चीनको घोषणा काठमाडौं । छिमेकी मित्र राष्ट्र चीनले अनुदान सहयोगमा केरुङ–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको छ । चीन भ्रमणमा रहनुभएका परराष्ट्र मन्त्री डा नारायण खड्कासँगको द्विपक्षीय भेटवार्तामा जनवादी गणतन्त्र चीनका विदेश मन्त्री वाङ यीले सो घोषणा गर्नुभएको हो । आज चीनको चिङ्दाओमा नेपाल चीन द्विपक्षीय वार्ता भएको हो । सो वार्तामा नेपाल–चीन सम्बन्ध र सहयोगका समग्र पक्षको समीक्षा गर्दै व्यापार, ‘कनेक्टिभिटी’, लगानी, स्वास्थ्य, पर्यटन, गरिबी निवारण, कृषि, विपद् व्यवस्थापन, शिक्षा, संस्कृत्लिगायतका विभिन्न क्षेत्रका सहयोगलाई थप प्रवद्र्धन गर्ने सहमती भएको बेइजिङस्थित नेपाली दुताबासद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ । चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङको निमन्त्रणामा परराष्ट्र मन्त्री डा खड्का चीनको तीन दिने औपचारिक भ्रमणमा छन् । भेटवार्तामा परराष्ट्रमन्त्री डा खड्काले एक चीन नीतिप्रति नेपालको अटल प्रतिबद्धता दोहो¥याउँदै नेपाली भूमि चीनविरुद्ध कुनै पनि गतिविधिका लागि प्रयोग हुन नदिने बताउनुभएको चीनको राजधानी बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ । त्यसैगरी विदेशमन्त्री वाङले नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डताप्रति चीनको निरन्तर र निःशर्त समर्थन दोहो¥याउँदै नेपाल सरकारको प्राथमिकताअनुसार नेपालको विकास प्रयासमा सहयोग गर्ने आश्वासन दिएका थिए । दुई मन्त्रीले विगतमा उच्चस्तरीय भ्रमणका क्रममा भएका सम्झौता र समझदारीलाई समयमै कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दै नेपालमा चीनको सहयोगमा सञ्चालित आयोजनाहरुको कार्यान्वयनलाई तिब्रता दिन सहमत हुनुभएको छ । त्यसमा चिनियाँ पक्षले नेपाली प्रतिनिधिमण्डललाई चीनले काठमाडौँ चक्रपथ सुधार आयोजनाको दोस्रो चरणको निर्माण कार्य छिट्टै सुरु गर्ने आश्वासन दिएको छ । विदेश मन्त्री वाङले अनुदान सहयोगमा चीनले केरुङ–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा पनि गरे । उनले यसअघि सन् २०२२ को मार्चमा नेपाल भ्रमणमा सहमति गर्नुभएको नेपाल–चीन क्रस बोर्डर प्रसारण लाइनको पूर्वसम्भाव्यता अध्ययनका लागि पनि सहयोग गर्ने आश्वासन दिए । सो अवसरमा मन्त्री वाङ यीले नेपाललाई सन् २०२२ मा ८० करोड आरएमबी उपलब्ध गराउने घोषणा गरे । नेपाली पक्षको आग्रहमा चिनियाँ पक्षले नेपाललाई रासायनिक मल उपलब्ध गराउने र नेपालमा रासायनिक मल कारखाना स्थापना गर्नका लागि सम्भाव्यता अध्ययन गर्न विचार गर्ने आश्वासन पनि दिएको छ । विदेश मन्त्री वाङ नेपालको कृषि क्षेत्रमा सहयोग गर्न सहमत हुनुका साथै उनले नेपालको उत्पादन क्षमता विकास गर्न चिनियाँ लगानीलाई प्रोत्साहन गर्न र नेपाली चिया तथा परम्परागत जडीबुटीको निर्यातमा सहयोग अभिवृद्धि गर्न पनि सहमत भएका छन्। दुवै मन्त्रीले सीमा बन्दरगाहमा महामारी नियन्त्रणका लागि संयुक्त संयन्त्र स्थापना गर्ने निर्णय गर्नुभएको नेपाली दुताबासद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । चीनको स्वशासित क्षेत्र तिब्बतमा कोभिड–१९ को महामारी नियन्त्रण भएपछि रसुवा–केरुङ र तातोपानी–जाङ्मु बन्दरगाह दुईतर्फी व्यापारका लागि र हिल्सा–पुलाङ बन्दरगाह एकतर्फी व्यापारका लागि खोल्ने सहमति भएको छ । नेपालका विभिन्न भागमा विपद् तथा प्राकृतिक प्रकोपबाट प्रभावित जनताको सहयोगका लागि स्टेट काउन्सिलर वाङ यीले नेपालको अनुरोधबमोजिम तीस लाख आरएमबी बराबरको विपद् राहत सामग्री नेपाललाई उपलब्ध गराउने घोषणा गरेका छन् । यसैगरी चीनले नेपाललाई थप २० लाख आरएमबी मूल्यका मेडिकल सामग्री र रसद उपलब्ध गराउने भएको छ । स्टेट काउन्सिलर वाङले चीनले नेपाललाई आवश्यक पर्ने थप कोभिड–१९ विरुद्धको खोप र कोभिड–१९ सम्बन्धी चिकित्सा सहायता उपलब्ध गराउने पनि घोषणा गरे । परराष्ट्र मन्त्री डा खड्काले चीन सरकारले स्वास्थ्य सामग्री, उपकरण र जीवन बचाउने कोभिड–१९ विरुद्धको खोपमा गरेको उल्लेख्य सहयोगको प्रशंसा गर्दै स्वास्थ्य पूर्वाधार र सुविधाको सुदृढीकरणका साथै क्यान्सर उपचारमा नयाँ प्रविधि हस्तान्तरण गर्न थप सहयोगका लागि आग्रह गरे । विदेश मन्त्री वाङले नेपालको निजामती सेवा अस्पतालमा ब्लड क्यान्सरको उपचारका लागि ‘चिमेरिक एन्टिजेन रिसेप्टर टी सेल’ निर्माण प्रयोगशाला स्थापना गर्न र नेपाली स्वास्थ्यकर्मीहरूलाई आवश्यक तालिम उपलब्ध गराउन चीनले सहयोग गर्ने घोषणा गरे । विदेश मन्त्री वाङले चीन फर्कन चाहने बाँकी रहेका नेपाली विद्यार्थीहरूले स्वास्थ्य प्रोटोकल पूरा गर्दै प्रवेशाज्ञा प्रक्रिया अघि बढाउन र आफ्नो अध्ययन पुनः सुरु गर्न सक्ने पनि बताएका छन् । सो अवसरमा दुवै पक्ष नेपाल–चीन संयुक्त सीमा निरीक्षण समितिको विद्यमान संयन्त्रको कामका लागि आवश्यक तयारी गर्न द्विपक्षीय प्राविधिक समिति गठन गर्न सहमत भएका छन् । दुवै परराष्ट्रमन्त्रीले विभिन्न क्षेत्रीय तथा बहुपक्षीय मञ्चमा पारस्परिक हितका विषयमा निरन्तर सहयोग गर्ने विषयमा पनि विचार आदानप्रदान गरेका थिए । द्विपक्षीय वार्तापछि स्टेट काउन्सिलर तथा विदेश मन्त्री वाङले परराष्ट्र मन्त्री डा खड्का र नेपाली प्रतिनिधिमण्डलका सदस्यको सम्मानमा भोजको आयोजना गरेका थिए। मन्त्री खड्का ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मङ्गलबार राति चीन प्रस्थान गरेका हुन्। उनी यही साउन २६ गते काठमाडौँ फर्कने मन्त्रालयले जनाएको छ ।
प्याराग्लाइडिङ उडानकै क्रममा पत्रिका विमोचन गण्डकी । गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति व्यवस्थामन्त्री मणिभद्र शर्मा (कँडेल) ले पोखराबाट प्याराग्लाइडिङ विस्थापित हुन नदिन आफूले सक्दो पहल गर्ने बताएका छन् । सराङ्कोटबाट प्याराग्लाइडिङ उडानकै क्रममा ‘टुरिजमपाना’ मासिक पत्रिकाको आज विमोचन गर्दै उनले पर्यटकीय सहर पोखरामा साहसिक पर्यटनमा धेरै आकर्षण रहेको र अधिकतम पर्यटक भित्र्याउन यसको संरक्षण जरुरी रहेको बताए । पोखराको पर्यटन विकासमा प्रदेश सरकारले विशेष ध्यान दिएको उनले बताए । मन्त्री शर्माले टुरिजमपाना पत्रिकाले नेपालको आन्तरिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । महिला प्यारा पाइलट तृशा श्रेष्ठले मन्त्री शर्मालाई प्याराग्लाइडिङ गराएकी थिइन्। पोखराबाट प्याराग्लाइडिङ विस्थापित हुने कुराले साहसिक खेल क्षेत्रमा निराशा छाएको भन्दै उनले विषय विज्ञसँग पर्याप्त छलफलपछि मात्रै यस विषयमा थप भन्न सकिने धारणा राखे । पत्रिकाका प्रकाशक विष्णुकान्त घिमिरेका अनुसार नेपालको आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्दै लुकेर रहेका गन्तव्य चिनाउने उद्देश्यका साथ टुरिजमपाना मासिक पत्रिका प्रकाशनमा आएको हो । पत्रिकाले पर्यटन क्षेत्रका फरक र नयाँ विषयवस्तुलाई पाठकसमक्ष ल्याउने उद्देश्य राखेको पत्रिकाका सम्पादक गीता चिमोरियाले बताए ।
महावीर पुनले अमेरिकामा भने- यसकारण नेपालमा नै आविष्कार गरौं इलिनोइ, अमेरिका। राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा.महाविर पुनले नेपालमा आविष्कार गरेर नेपालको अर्थतन्त्र तथा नेपालीहरुको जीवनस्तर उठाउनुपर्ने कुरा बताएका छन्। उनले आविष्कार गरेपछि त्यसको उत्पादनबाट आर्थिक समृद्धि हासिल गर्न सकिने भएकाले नयाँ कुराको खोज र अनुसन्धानमा राज्यले लगानी गर्नुपर्ने बताए।  पुनले इलिनोइ राज्यको राजधानी स्प्रिंगफिल्ड र छिमेकी शहर ज्याक्सनभील वरिपरि बसोबास गर्ने नेपाली समुदायसँग अगष्ट ५ २०२२ शुक्रबारका दिन अन्तरक्रिया गरेका थिए। स्प्रिंगफिल्ड र ज्याक्सनभील क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायले संयुक्त रुपमा आयोजना गरेको सो कार्यक्रममा अध्यक्ष पुनले राष्ट्रिय आविष्कार केन्द्रको स्थापनाको उद्धेश्य, आजसम्म भए गरेका कामहरु र आगामी दिनमा केन्द्रले तय गरेका अनुसन्धान र आविष्कारका लक्ष्यहरुका बारेमा प्रकाश पारेका थिए। कार्यक्रममा सहभागी व्यक्तित्वहरुले आविष्कार केन्द्रका बारेमा गहिरो चासो व्यक्त गर्दै केन्द्रका प्रगतिका साथै यसका क्रियाकलापहरुका बारेमा बिभिन्न प्रश्नहरु गरेका थिए। ती प्रश्नहरुका उत्तर दिने क्रममा अध्यक्ष डा पुनले राष्ट्रिय आविष्कार केन्द्रको स्वामित्व पूर्णरुपमा नेपाली जनतामा रहेको र यो केन्द्र स्वदेश तथा बिदेशमा रहेका नेपालीहरुको आर्थिक, प्राबिधिक सहयोगबाट संचालन भैरहेको बताए। डा महाबीर पुन राष्ट्रिय आविष्कार केन्द्रमा भर्खरै तयार गरेर नेपालमा सफल परिक्षण समेत गरिएको अस्पतालमा नवजात शिशुलाई जन्मने बित्तिकै न्यानोमा राख्न प्रयोग गरिने बेबी वार्मर (न्यानो नानी, नेपाली नाम) को प्रदर्शनीका लागि अमेरिकाको नर्थ इष्ट अाेहायाे मेडिकल युनिभर्सिटीले  आयोजना गरेकाे  एक औपचारिक कार्यक्रममा भाग लिन हालै अमेरिका आएका हुन्। सो उपकरणलाई युनिभर्सिटीले अनुमोदन गर्नुका साथै आविष्कार केन्द्रलाई सफल अनुसन्धान गरे बापत अवार्ड समेत प्रदान गरेको जानकारी प्राप्त भएको छ।
बेहोस भएका विद्युतका कर्मचारीको मृत्यु नुवाकोट । नेपाल विद्युत प्राधिकरणमा कार्यरत एक कर्मचारीको खेल खेल्ने क्रममा बेहोस हुँदा ज्यान गएको छ । फुटसल खेल्ने क्रममा विद्युत प्राधिकरण चौघडा सवस्टेसनका कर्मचारी कृष्ण राइको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । लिखु गाउँपालिका-४ चौघडा घर भएका २९ वर्षीय राई विदुर नगरपालिका(५ पिपलटारमा रहेको फुटसल क्लबमा फुटसल खेल्ने क्रममा बेहास भएपछि उपचारको क्रममा त्रिशूली अस्पताल लगिएकोमा उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । फुटसल खेल्दा असहज भएर आराम गरिरहेका राई एक्कासी बेहोस भएका थिए । उनको मुटुको भल्ब केही वर्षअघि फेरिएको बताइएको छ । नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा पोष्टमार्टम गरि शव आफन्तको जिम्मा लगाइएको छ ।
सल्यानमा जंगली च्याउ खाँदा बालिकाको मृत्यु सुर्खेत । जंगली च्याउ खाँदा सल्यानमा एक बालिकाको मृत्यु भएको छ । सल्यान शारदा नगरपालिका–४ साइला कम्दकी ४ वर्षीया जोशना बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । जंगली च्याउ खाँदा बिरामी परेका एकै घरका चारमध्ये बालिकाको प्रदेशिक अस्पताल सुर्खेतमा शनिबार दिउँसो उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए । शुक्रबार जंगली च्याउ खाँदा शारदा नगरपालिका–४ साइला कम्दकी ४० वर्षीया मीना बस्नेत, छोरी २५ वर्षीया पवित्रा बस्नेत, ९ वर्षीय छोरा जोन बस्नेत र छोरी ४ वर्षीया जोशना बस्नेत बिरामी भएका थिए । जिल्ला अस्पताल सल्यानमा सामान्य उपचारपछि थप उपचारको लागि प्रदेश अस्पताल सुर्खेतमा रिफर गरिएको थियो । उनीहरूका अनुसार जिल्ला अस्पतालबाट रिफर गरिएका बन्गाड कुपिण्डे नगरपालिका–९ जयतपानीका एकै घरका ४८ वर्षीय भूपबहादुर ओली, उनको ४५ वर्षीया श्रीमती मनकलि ओली २३ वर्षीय छोरा प्रकाश ओली र बुहारी २१ वर्षीय सुशीला ओली र शारदा नगरपालिका–४ साइला कम्दका चार गरी आठ जना बिरामी भएका थिए । जसमध्ये पाँच जनाको प्रादेशिक अस्पताल सुर्खेत कालागाउँ अस्पतालमा उपचार भइरहेको छ भने बाँकी दुई जनालाई थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको खनालको भनाइ छ ।
नेकपा विभाजनको मूल कारण को हो, डा सापकोटाको पुस्तकले भन्छः माधव नेपाल काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा विभाजनको मूल कारण को हो भनेर लेखक डा ढाकाराम सापकोटाको पुस्तक (दस्तावेज)ले स्पष्ट पारेको बताएका छन् । राजधानीमा आज आयोजित डा सापकोटाको ‘नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को एकतादेखि विभाजनसम्म’ पुस्तक लोकार्पण समारोहमा अध्यक्ष नेपालले उक्त पुस्तक इतिहासको दस्तावेज भएको बताए । पुस्तकको चर्चा गर्ने क्रममा अध्यक्ष नेपालले पुस ५ गतेको घटनाक्रम स्मरण गरे । उनका अनुसार सोही दिन बालुवाटारमा नेकपाको बैठक चलिरहेका बेला प्रतिनिधिसभा भङ्ग गर्ने गरी राष्ट्रपतिकहाँ चिठी पठाइएको थियो । उक्त सूचना आएपछि बैठकले त्यस घटना असंवैधानिक भएको भन्दै निन्दा गर्ने प्रस्ताव पारित गरेको अध्यक्ष नेपालले बताए । पार्टी एकताका लागि अन्तिमसम्म हाम्रो कोसिस कतिसम्म भएको थियो भन्ने कुरा त्यस दिनको घटनाले देखाउने उल्लेख गर्दै अध्यक्ष नेपालले यो पुस्तकमा त्यस घटनाक्रमलाई स्पष्टरूपमा पढ्न सकिने पनि बताए । त्यसपछि सम्पूर्ण निर्णय गर्ने अधिकार एक व्यक्तिमा राखिएको पनि उनले सुनाए । उनले तत्कालीन समयमा पार्टी व्यक्तिवादको चरम आहालमा डुबेको जिकिर गरे । मुलुकको कम्युनिष्ट राजनीतिक आन्दोलन निकै उतारचढावका बीच यहाँसम्म आइपुगेको स्मरण गर्दै अध्यक्ष नेपालले पुस्तकको अर्को संस्करण निकाल्दा ती दस्तावेजलाई तिथिमितिसहित बुँदागतरूपमा राख्न लेखकलाई सुझाव दिए । तत्कालीन नेकपाका एक जना अध्यक्ष तथा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीतर्फ सङ्केत गर्दै उहाँले इतिहासमा गल्ती गरेर पनि अझै महसुस नगरिएको बताए । उनले भने, “कसैले गल्ती भयो भनेर महसुस गर्छ भने केही छैन, तर आजसम्म सुन्न पाइएको छैन ।” फरक सन्दर्भ जोड्दै अध्यक्ष नेपालले ७० वर्षमा राजनीति नै छाडौँ भन्ने लागे पनि परिस्थितिले छाड्न नदिएको बताए । उनले भने, “चुनावको मिति घोषणा भइसक्यो, यसपालिको चुनावमा लड्नैपर्र्छ र जित्नैपर्छ, अब पनि चुनावमा नउठ्ने भन्ने कुरा भएन, डराएछ कि क्या हो माधव नेपाल भन्ने पर्ला, चुनावमा विजयी भएर तपाईंहरुको बीचमा फेरि आउनुपर्छ ।” उनले कसैको काम नै निषेधको राजनीति गर्ने भएकाले घृणा पैदा गर्ने र नकारात्मक प्रचार गर्ने तत्व कायमै रहेको पनि बताए । उक्त कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का नेता डा बेदुराम भुसालले तीन वर्षको नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासको पाटोलाई डा सापकोटाको पुस्तकले केलाउने प्रयास गरेको बताए । डा भुसालले एकताका सन्दर्भ, एकतापछि भएका निर्णय, पार्टीभित्रका विवाद र त्यसपछि प्रस्तुत भएका दस्तावेज पुस्तकमा सङ्ग्रह गरिनु नै महत्वपूर्ण हो भने । डा भुसालले थपे, “म आफैँ तत्कालीन नेकपाको स्थायी कमिटी सदस्यको हैसियतले सबै विवादमा संलग्न छु, तर पुस्तकमा समावेश भएका कतिपय चिज मसँग पनि छैन कि जस्तो लाग्ने खालको छ ।” एक स्रष्टा इन्दु आचार्यले वामपन्थी आन्दोलनले आफूलाई स्थापित गर्ने अवसर विसं २०४६ पछि मदन भण्डारीले जबजको अवधारणा प्रतिपादन गरेसँगै एकपटक प्राप्त गरे पनि उहाँको निधनले संस्थागत हुन नसकेको उल्लेख गरे । उनले दोस्रो अवसरका रूपमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को एकीकरणबाट फेरि फर्किएको भए पनि नेतृत्वमा रहेकाको अधिनायकवादी शैली, आपसी लडाईं, अति अहंकार नै प्रमुख कारण सफल नभएको तीतो सत्यलाई पुस्तकले अझै मिहीनरूपमा प्रस्तुत गरेको भए नेपालको भावी वामपन्थी पुस्ताका लागि धेरै उपयोगी हुने टिप्पणी गरे । लेखक डा सापकोटाले आफूले समेटेका सबै कुरा सत्यतथ्य स्रोतमा आधारित भएर लेखेको जानकारी दिँदै त्यसमा कुनै पूर्वाग्रह नराखिएको प्रष्ट्याए । दस्तावेज सङ्कलन गर्न जाँदाका कठिनाइबारे समेत उनले जानकारी गराएका थिए।
तोकिएकै मितिमा निर्वाचन गर्न सक्षम छौंः निर्वाचन आयोग काठमाडौैं । निर्वाचन आयोगले आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन गर्न आफूहरु सक्षम रहेको जनाएको छ । बिहीबार सरकारले आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन गर्ने निर्णय गरेलगत्तै आयोगले गरेको पत्रकार सम्मेलनमा आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले उक्त मितिमा निर्वाचन गराउन सक्षम हुने बताएका हुन् । निर्वाचनको मिति घोषणादेखि निर्वाचन सम्पन्न हुँदासम्म १२० दिन समय चाहिने संवैधानिक व्यवस्था भए पनि उक्त मितिमा निर्वाचन गराउन आयोग सक्षम हुने उनको भनाइ छ । निर्वाचनको मिति घोषणाको दिन (आज) र मतदानको दिन (४ मंसिर) बाहेक १०७ दिन रहने भए पनि उक्त समयमा निर्वाचन गराउन आयोग सक्षम हुने प्रवक्ता पौडेलले जानकारी दिए । उनका अनुसार आयोगको सिफारिसअनुसार नै सरकारले निर्वाचनको मिति तोकेको हो ।
अल जवाहिरीको लाश खै ? अमेरिकाले मृत्युको पुष्टी कसरी गर्‍यो ? काठमाडौं । गत वर्ष अराजकताको अवस्थामा अमेरिकाले अफगानिस्तानबाट आफ्ना सेना फिर्ता गरेपछि राष्ट्रपति जो बाइडेनले तालिबान शासित अफगानिस्तानलाई आतंकवादीहरूको सुरक्षित आश्रयस्थल बन्न नदिने वाचा गरेका थिए। जब बाइडेनले यो भने उनको नियत स्पष्ट थियो कि दशकौंदेखि आतंकवाद विरुद्धको युद्ध समाप्त भएको छैन। अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएको करिब एक वर्ष पछि, राष्ट्रपति बाइडेनलाई शीर्ष अधिकारीहरूले सम्पर्क गरे र गुप्तचर अधिकारीहरूले अल-कायदा नेता अयमान अल-जवाहिरीको ठेगाना पत्ता लगाएको बताए। तालिबान सत्तामा आएपछि अल जवाहिरी काबुल फर्किएको अमेरिकी अधिकारीहरूले बताए । अमेरिकाले आफ्ना सेना फिर्ता गरेपछि र तालिबान सत्तामा आएदेखि नै सबै कुरालाई निकै सावधानीपूर्वक हेरिरहेको छ। बाइडेनलाई एक सल्लाहकारले भनेका थिए कि तालिबानको आगमन पछि अल-कायदा नेताहरू फर्किरहेका छन्। जवाहिरीको बारेमा खबर आयो कि उनी काबुलमा ठूलो बाउन्ड्री पर्खाल भित्र बनेको घरमा बस्दै आएका थिए। जवाहिरीसँगै उनकी श्रीमती र छोरी पनि थिए । यो काबुलको चुरपुर क्षेत्र हो जसलाई भीआइपीहरू बस्ने पोश क्षेत्रका रूपमा हेरिन्छ । यो पहिलेको सरकारमा विदेशी दूतावास र कूटनीतिज्ञहरूको घर थियो। अहिले तालिबानका वरिष्ठ अधिकारीहरू यस क्षेत्रमा बस्छन्। अप्रिलको सुरुमा सीआईए अधिकारीहरूले राष्ट्रपति बाइडेनका अधिकारीहरूलाई जवाहिरीको बारेमा बताए। त्यसपछि राष्ट्रपति बाइडेनलाई अलकायदा नेतालाई समर्थन गर्ने नेटवर्क पहिचान गरेको जानकारी दिइएको थियो। बिस्तारै, अमेरिकी सुरक्षा गुप्तचर अधिकारीहरूले अल-जवाहिरीको घरका गतिविधिहरू बुझ्न थाले। त्यो घरमा कति मानिस बस्छन् र को–कतिबेला बाहिर आउँछन् भन्ने पनि बुझ्ने प्रयास गरिएको थियो । अमेरिकी जासुसहरूले उक्त घरमा एक महिलालाई पनि देखे र उनलाई अल-जवाहिरीको पत्नीको रूपमा पहिचान गरे। अमेरिकी जासूसहरूले ती महिलाको व्यवहार अलि फरक फेला पारे। ती महिलाले प्रविधिको प्रयोग गर्ने र उनका श्रीमान् काबुलको यो घरमा बसेको कुरा कसैलाई थाहा नहोस् भन्ने प्रयास गरेको उनीहरु बताउँछन् । अल-जवाहिरी यस घरमा सरेपछि कहिल्यै क्याम्पस छोडेनन्। तर अमेरिकी जासुसहरूले अल-जवाहिरी बेलाबेलामा बालकनीमा जाने गरेको याद गरे। यो राष्ट्रपति बाइडेनका लागि अमेरिकाको मोस्ट वान्टेड आतंकवादीलाई समाप्त गर्ने अवसर थियो। जवाहिरीको घर घना जनसंख्या भएको क्षेत्रमा छ। अफगानिस्तानमा अमेरिकी सेना फिर्ता हुने क्रममा भएको ड्रोन आक्रमणमा काबुलमा १० निर्दोष व्यक्तिको मृत्यु भएको थियो । जसमा सात बालबालिका पनि थिए । यो पटक अमेरिकी सुरक्षा बलको दिमागमा ड्रोन आक्रमणको बारेमा यो घटना स्मृतिमा थियो। मे र जुनमा, अमेरिकी नेताको ध्यान युक्रेनमा चलिरहेको युद्ध, बन्दुक नियन्त्रण कानून र जलवायु परिवर्तनमा थियो। तर गोप्य रूपमा राष्ट्रपति बाइडेनलाई अल-जवाहिरीको बारेमा पनि भनिएको थियो। बाइडेनले गुप्तचर अधिकारीहरूलाई भने कि जवाहिरी विरुद्धको अभियानमा सामान्य जनता र परिवारका कुनै पनि सदस्यलाई हानि पुर्‍याउनु हुँदैन। जुलाई १ मा राष्ट्रपति बाइडेनले सीआईए निर्देशक विलियम बर्न्स र राष्ट्रिय खुफिया निर्देशक एभरिल हाइन्ससँग भेटघाट गरे। यस बैठकमा अल-जवाहिरीमाथि गरिने हमलाबारे बाइडेन निकै गम्भीर थिए। जे होस्, उनी कुनै पनि मोर्चामा चुक्न चाहँदैनथे। एक वरिष्ठ अधिकारीले भने कि बाइडेन यो अपरेसनमा कुनै जोखिम लिन नपरोस् भन्ने चाहन्थे। बाइडेनले अपरेशनको हरेक चरणको बारेमा सोधपुछ गरे। उनले जवाहिरीको घरको संरचनाबारे जानकारी लिए र आक्रमणको असरबारे पनि सोधे। बाइडेनको यो भेट ह्वाइट हाउसको सिचुएसन रुममा भएको थियो । यो ह्वाइट हाउस मुनिको बंकरजस्तै हो, जहाँबाट राष्ट्रपतिले विदेशमा भइरहेको अपरेशनमाथि पनि नजर राख्छन्। अमेरिकी गुप्तचर अधिकारीहरू पनि राष्ट्रपतिका हरेक प्रश्नको जवाफ दिन सकियोस् भनेर पूर्ण तयारीका साथ गएका थिए । बैठकमा वकिलहरूको सानो समूह पनि थियो । वकिलहरूले आक्रमणमा के के कानूनी समस्याहरू आउन सक्छन् भनेर व्याख्या गर्नुपरेको थियो। जुलाई २५ मा, राष्ट्रपति बाइडेनले सबै कुरा बुझेर, स्ट्राइकलाई अनुमोदन गरे। अफगानिस्तानको स्थानीय समय अनुसार जुलाई ३१ मा बिहान ६:१८ बजे जवाहिरीको बालकनीमा ड्रोनद्वारा दुईवटा हेलफायर मिसाइल प्रहार गरिएको थियो। जसमा अल कायदा नेता अल जवाहिरीको मृत्यु भएको थियो । अमेरिकी गुप्तचर अधिकारीहरूले जवाहिरीको परिवारमा कसैलाई चोट नपुगेको बताएका छन्। आक्रमणबाट घरका झ्यालका सिसा फुटेपनि अन्य क्षति भने भएको छैन । हजारौं माइल टाढा बसेका बाइडेनलाई आक्रमणको सफलताको जानकारी दिइएको थियो। आइतवार, तालिवानको आन्तरिक मन्त्रालयले टोलो न्यूजलाई भन्यो कि मिसाइल खाली घरमा खसेको थियो, त्यसैले कुनै क्षति भएको छैन। यसबाहेक तालिबानले थप जानकारी दिएको छैन। तर बाइडेन प्रशासनले आक्रमणको लगत्तै हक्कानी नेटवर्क र तालिवानको एक हिंसक गुट त्यहाँ पुगेको र जवाहिरीको परिवारलाई त्यहाँबाट हटाएको बताएको छ। उनीहरूले सम्पूर्ण अपरेशन लुकाउने प्रयास गरे। जब बीबीसी रिपोर्टर सोमबार त्यो घर नजिक पुगे, तालिवानले उनलाई जानबाट रोके र धम्की दिए। तालिबानले भने कि यहाँ हेर्नको लागि केही छैन। अमेरिकी अधिकारीहरूका अनुसार गुप्तचर अधिकारीहरूले जवाहिरी हमलामा मारिएको धेरै तहमा पुष्टि गरेका छन्। तर काबुलमा कुनै पनि अमेरिकी अधिकारी मैदानमा थिएनन्। अपरेशन कसरी सफल भयो र कसरी पुष्टि भयो भन्नेबारेमा उनीहरूले कुनै जानकारी दिएनन्। राष्ट्रपति बराक ओबामाको सरकारमा राष्ट्रिय खुफिया निर्देशक जेम्स क्लापरले बीबीसीलाई भने कि काबुलमा पूर्व अमेरिकी सहयोगीहरूले पुष्टि गरेका थिए। जवाहिरीको शव के भयो भन्ने अझै स्पष्ट भइसकेको छैन। बाइडेन प्रशासनले जवाहिरीको शव लिन कुनै प्रयास नगरिएको बताएको छ। तर, ओसामा बिन लादेनको शव बरामद गरी समुन्द्रमा गाडिएको बताइएको छ । ओसामा बिन लादेनको पनि पहिचान भएको थियो। कट्टरपन्थीहरूले मजार नबनाउन् भनेर समुन्द्रमा गाडियो ।
सरकारी शिक्षक कागती खेतीमा रमाउँदा… तुलसीपुर। दिनभर विद्यालयमा व्यस्त हुने मीनबहादुर केसी साँझ-बिहान र बिदाको समयमा भने सधैँजसो बारीमै व्यस्त हुन्छन्। दिनभरको विद्यालयको थकान मेट्ने एउटा माध्यम उहाँको बारी बन्ने गरेको छ। शान्तिनगर गाउँपालिका–४ गिधनिया निवासी उनले आफ्नो छ कठ्ठा जग्गामा कागती र केराखेती गरेका छन्। शान्तिनगर गाउँपालिका–३ स्थित आधारभूत विद्यालय केराघारी लामो समयदेखि प्रधानाध्यापकको भूमिकामा रहेका शिक्षक केसीले आफ्नो बारीमा कागती र केराखेती गरेका छन्। “दिनभर स्कुलमा व्यस्त हुन्छु, दिनभरको थकान मेट्न बारीमा व्यस्त हुने गरेको छु”, उनले भने। उनले अहिले छ कठ्ठामा कागती खेती गरेको भए पनि केही समयपछि ११ कठ्ठामा खेती गर्ने लक्ष्य राखेका छन्। खेती गरेको एक वर्षको भएकाले तत्काल आम्दानी लिन नसकेको भए पनि केही समयपछि मनग्य आम्दानी गर्ने उनको धोको छ। “तत्कालन आम्दानी लिन सकिएको छैन”, उनले भने, “केही समयपछि मनग्य आम्दानी हुन्छ भन्ने अपेक्षा गरेको छु।” दिनमा दुई घण्टा हिँडेर विद्यालय पुग्ने शिक्षक केसी अबको दुई वर्षपछि अवकाश लिँदै छन्। लामो समय एउटै विद्यालयमा पढाउँदै आएका उनले अवकाश पछि पूर्णरूपमा व्यावसायिक कृषिखेती गर्ने धोको राखेका छन्। “म विसं २०४५ देखि शिक्षण पेशामा छु, लामो समय केराघारी स्कुलमा पढाउँदै आएको छु”, उनले भने, “ अवकाशपछि व्यावसायिक कृषिखेती गर्ने सोच बनाएको छु।” आफू शिक्षक पनि भएकाले आफूले समाजमा कृषि खेतीबाट मनग्य आम्दानी गरेपछि आफ्ना छिमेकीलाई पनि त्यो खेतीतर्फ प्रोत्साहन गर्ने योजना छ। उनले आफू त्यस क्षेत्रको उदाहरणीय किसान बनेर मनग्य आम्दानी गर्ने र त्यसबाट अरूलाई पनि आकर्षित गराउने योजना रहेको उनले बताए। पहिलेदेखि नै कृषि खेतीप्रति चासो रहे पनि शिक्षण पेशाले गर्दा त्यस्तो समय मिलाउन नसके पनि पछिल्लो समय भने समय निकालेर व्यावसायिक खेती गर्ने गरेको उनको भनाइ छ। रासस
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको बाँकी काम सम्पन्न गर्न प्राविधिक समिति गठन चितवन। नेपाल सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको बाँकी काम सम्पन्न गर्नका लागि प्राविधिक समिति गठन गरेको छ ।मन्त्रिपरिषद्को साउन ९ गते सम्पन्न बैठकले सहरी विकास मन्त्रालयका सहसचिवको नेतृत्वमा प्राविधिक समिति गठन गर्ने निर्णय गरेको हो । युवा तथा खेलकुद मन्त्रालयका सचिव डा.दामोदर रेग्मीका अनुसार सहरी विकास मन्त्रालयका सहसचिव प्रकृर्ण तुलाधरको संयोजकत्वमा छ सदस्यीय समिति गठन गरेको हो । मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्ले निर्णय गरेको डा.रेग्मीले जानकारी दिए । सघन सहरी विकास तथा भवन निर्माण आयोजनाका सिनियर डिभिजन इञ्जिनीयर प्रकाश अर्याल, आर्थिक प्रशासन प्रमुख र लेखा अधिकृत युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्का इञ्जिनीयर राजु श्रेष्ठ सदस्य रहने गरी प्राविधिक समिति गठन गर्ने निर्णय गरेको छ । यस्तै युवा तथा खेलकुद मन्त्रालयका शाखा अधिकृत दीपेन्द्र रावल, भरतपुर महानगरपालिकाका लेखा अधिकृत जगन्नाथ अर्याल पनि सदस्य रहने निर्णय भएको उनले जानकारी दिए । समितिले २१ दिनभित्र प्राविधिक प्रतिवेदन तयार गरी पेश गर्ने छ । समितिमा आवश्यकता अनुसार राष्ट्रिय सतर्कता केन्द्रलाई समेत राख्ने गरी समिति गठन गरिएको हो । युवा तथा खेलकुद मन्त्रालयले स्वामित्व ग्रहण गर्ने सम्बन्धमा मन्त्रिपरिषद्मा पेस गरेको प्राविधिक समिति गठनको विषयमा मन्त्रिपरिषद्ले निर्णय गरेको हो । यस समितिले रङ्गशाला निर्माण कार्य के कसरी प्रारम्भ भयो, रङ्गशाला निर्माणका लागि तयार गरिएको संरचना (स्ट्रकचर), ड्रईङ्ग, डिजाईन र लागत अनुमान अन्तर्राष्ट्रिय मापदण्ड अनुसार छ कि छैन भन्ने विषयमा अध्ययन गर्ने छ । यस्तै निर्माणस्थलको जग्गाको स्वामित्वको विषयमा विस्तृत अध्ययन गरी उक्त बाँकी निर्माण कार्य कुन विधिबाट सम्पन्न गर्न उचित हुने भन्ने विषयमासमेत प्राविधिक समितिले दिएको प्रतिवेदनका आधारमा मन्त्रालयले काम अघि बढाउने सचिव रेग्मीले जानकारी दिए । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले मन्त्री परिषद्को निर्णय रङ्गशाला निर्माणका लागि महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो । उनले भने “पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित जिल्लाका जनप्रतिनिधिको ‘डेलिगेसन’ पश्चात मन्त्रालय र मन्त्रिपरिषद्को निर्णय स्वागतयोग्य रहेको छ ।” छिट्टै रङ्गशाला निर्माणको काम अघि बढ्नेमा उनले विश्वास व्यक्त गरे। । रङ्गशाला निर्माणका लागि धुर्मुस–सुन्तली फाउण्डेसनले काम गर्दै आएकामा कोरोना कहर र आर्थिक अभावको कारण देखाउँदै भरतपुर महानगरलाई स्वामित्व लिन आग्रह गरेको थियो । भरतपुर महानगरपालिकाको विसं २०७८ माघ २७ गतेको स्वामित्व लिन नेपाल सरकारलाई अनुरोध गरेअनुसार अध्ययनका लागि प्राविधिक समिति
धनगढीका स्वतन्त्र मेयर गोपाल भक्तपुर नगरपालिकामा भक्तपुर । स्वतन्त्र रूपमा काठमाडौं महानगरपालिकामा मेयर पदमा विजयी बालेन्द्र शाहपछि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग भेट गर्न कैलालीको धनगढी उपमहानगरपालिकामा स्वतन्त्र रूपमा विजयी नगर प्रमुख गोपाल हमाल बुधबार भक्तपुर पुगेका छन् । भक्तपुर नगरपालिकाकाको शिक्षा, स्वास्थ्य र विशेषगरी फोहरमैला व्यवस्थापनबारे अध्ययन भ्रमणमा उनी आएको बताइएको छ । नगर प्रमुख हमाललाई भक्तपुर नगर प्रमुख प्रजापतिले भेट गरी नगरपालिकाद्वारा सञ्चालित विविध गतिविधिहरूबारे जानकारी गराए । यसअघि मेयर प्रजापतिलाई भेट्न काठमाडौंका मेयर बालेन उहिले नै आइसकेका थिए । यसअघि उनी चुनावको मतगणनाबाट आफू जित्ने निश्चित देखिएसँगै पनि भक्तपुर नगरपालिका कार्यालय पुगेका थिए । उनले त्यो बेला कार्यवाहक मेयर एवं भक्तपुर नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष प्रेमगोपाल कर्माचार्यलगायत नगरपालिकाका कर्मचारीहरूसँग भेट गरेका थिए । बुधबारको भेटमा भक्तपुर नगर प्रमुख प्रजापतिले स्वास्थ्य क्षेत्रमा जनताको सहज पहुँचको लागि भक्तपुर नपाले स्वास्थ्य केन्द्र हुँदै अहिले १०० शय्याको ख्वप अस्पतालमार्फत अन्तरङ्ग सेवा सुरु गरिसकेको अवगत गराए । प्रमुख प्रजापतिले ख्वप अस्पतालबाट व्यापक जनताले सस्तो र स्तरीय स्वास्थ्य सेवा पाइरहेको चर्चा पनि गरे । भक्तपुर नपाले आजभन्दा ४ वर्ष अघिदेखि कुहिने र नकुहिने फोहर अलगअलग दिन संकलन गर्दै आएको र हाल कुहिने फोहरबाट कम्पोस्ट मल निर्माण गरी किसानहरूलाई सस्तोमा बिक्रीसमेत सुरु गरिसकेको उनले जानकारी गराए । विकास निर्माणको सन्दर्भमा भक्तपुर नपाले जनताको आर्थिक तथा भौतिक सहयोग र श्रमदान जुटाई उपभोक्ता समितिमार्फत पारदर्शी ढङ्गले गुणस्तरीय निर्माण गर्दै आइरहेको उनले बताए । उनले भक्तपुर नपा युवा तथा विद्यार्थीहरूलाई लक्षित गर्दै सञ्चालित सीपमूलक तालिमले रोजगारी सिर्जना भएको बताए । धनगढी उपमहानरपालिका प्रमुख हमालले सबैसँग सहकार्य गर्दै अगाडि बढिरहेको बताउँदै धनगढी उपमहानरले वडा क्लिनकको अवधारणा अनुसार गर्भवती महिलाको लागि यसै आर्थिक वर्षदेखि विशेषज्ञसहित १९ वटै वडामा अल्ट्रासाउन्ड, इसीजी र ल्याबको स्वास्थ्य सेवा निःशुल्क रूपमै सुरु गरेको बताए । उनले भक्तपुर नपाको सरसफाइ र फोहोर व्यवस्थापनको चर्चा व्यापक रहेको हुँदा यहाँबाट सिक्ने उद्देश्यले भक्तपुर आएको बताए । जनतालाई स्थानीय सरकारको औचित्यता पुष्टि हुने ढंगले जनप्रतिनिधिहरूले काम गर्नुपर्नेमा उनले जोड दिए । भेटमा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, धनगढी उपमहानरपालिकाबाट महेशप्रसाद दाहाल र रूपक जोशीको उपस्थिति रहेको थियो । यसअघि भक्तपुरका नगर प्रमुख प्रजापतिले नगर प्रमुख हमाललाई खादा र भादगाउँले टोपीले स्वागत गरेका थिए । सोही क्रममा भ्रमण टोलीले भक्तपुर नगरबाट सञ्चालित ख्वप कलेज, ख्वप अस्पताल र ख्वप इन्जिनियरिङ कलेजकोसमेत स्थलगत अवलोकन भ्रमण गरेको थियो ।
अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू नेपाल आउँदै काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू नेपाल भ्रमण आउने भएका छन् । लु भोली साँझ नेपाल आउने परराष्ट्र मन्त्रालयले स्रोतले जानकारी दिएको छ । नेपालमा रहँदा उनले उच्च राजनीतिक भेटवार्ता गर्ने स्रोतको भनाइ छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण रद्द भएसँगै उनको भ्रमण हुन लागेको हो । यसअघि एमसिसी सम्झौता अनुमोदन हुनु अघि पनि लूले नेपाल भ्रमण गरेका थिए । नेपालले स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) अस्वीकार गरेको केही समयपछि उनी नेपाल भ्रमणमा आउन लागेका हुन् । उनी नेपाल भ्रमणमा आउने सार्वजनिक भइरहँदा आज संसदीय समितिले एसपिपीमा सहभागी नहुने पत्र अमेरिकालाई नपठाउनुको कारण सरकारसँग माग गरेको छ । प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले एसपिपीमा नेपाल सहभागि नहुने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेपनि हालसम्म अमेरिकालाई पत्र नलेखेको भन्दै पत्र नलेख्नुको कारण माग गरेको हो ।
उपत्यकाको फोहर बिहीबारदेखि पुनःव्यवस्थापन हुने काठमाडौँ। एक हप्तादेखि रोकिएको काठमाडौँ उपत्यकाको फोहर भोलि (बिहीबार)देखि पुनःव्यवस्थापन हुने भएको छ। सिसडोलबाट बञ्चरेडाँडासम्म जाने करिब दुई किलोमिटर सडक मर्मतको काम गर्नुपर्ने भएकाले एक हप्ता उपत्यकाको फोहर उठ्न सकेको थिएन। बाटो मर्मतकै कारण उपत्यकाका १८ स्थानीय तहको फोहर व्यवस्थापनको काम रोकिएको थियो। बाटो मर्मतको काम सकिएकाले बिहीबार बिहान ६ बजेदेखि साविकबमोजिम नै फोहर व्यवस्थापन हुने कामपाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालद्वारा जारी सूचनामा भनिएको छ। कामपाले यही साउन ४ गते सूचना सार्वजनिक गर्दै एक हप्तासम्म आआफ्नो घर, पसल व्यवसायबाट उत्पन्न हुने कुहिने र नकुहिने फोहरलाई सडक, चोक, सार्वजनिकस्थलमा नफाली घरभित्रै छुट्टाछुट्टै राख्न अपिल गरेको थियो। हरेक दिन उपत्यकाबाट एक हजार २०० मेट्रिकटन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । यसमध्ये सबैभन्दा बढी कामपामा ५०० मेट्रिकटन फोहर निस्किने गर्दछ। उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करिब ७५ प्रतिशत उक्त स्थानमा व्यवस्थापन गरिँदै आएको छ। यसैबीच कामपाले उपत्यकाको कुहिने फोहर यहीँ नै व्यवस्थापन गर्नका लागि स्थान पहिचानको कामलाई तीव्रता दिएको छ। यसका लागि उपत्यकाका विभिन्न स्थान र उपत्यका बाहिर बनेपासम्म पनि कामपाका प्रमुख बालेन्द्र साहकै अग्रसरतामा कुहिने फोहर व्यवस्थापनका लागि जग्गा खोज्ने काम भइरहेको छ। कामपाले फोहरको प्रभावकारी व्यवस्थापनका लागि यही साउन १ गतेदेखि ३२ वटै वडाबाट कुहिने र नकुहिने फोहर फरक किसिमले नै व्यवस्थापनको कार्य सुरु गरिसकेको छ।
फरेन्सिक विज्ञसहित संसदीय छानबिन समितिको बैठक सुरु काठमाडौं । अर्थ मन्त्रालयको डिलिट भएको भनिएको सीसीटीभीको फुटेजमाथि विश्लेषण गर्न विज्ञसहितको संसदीय विशेष छानबिन समितिको बैठक सुरु भएको छ । मंगलबार बिहान बसेको बैठकले विज्ञसहित बोलाएर नेपाल प्रहरीको फरेन्सिक ल्याबबाट प्राप्त रिपोर्ट अध्ययन गर्नुपर्ने निष्कर्ष निकालिएको थियो । सोहीअनुसार जारी बैठकमा फरेन्सिक विज्ञको रुपमा प्रहरीको विधिविज्ञान प्रयोगशालाका दुई जना प्रहरी अधिकृत सहभागी छन् । आर्थिक वर्ष २०७९\८० को बजेट निर्माणका क्रममा गत १४ जेठको मध्यराति अर्थमन्त्रालयमा दुईजना अनाधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेर गरेको आरोपमा तत्कालीन अर्थमन्त्री शर्मामाथि छानबिन गर्न प्रतिनिधिसभाले ११ सदस्यीय विशेष छानबिन समिति गठन गरेको हो । उक्त समितिको मंगलबार बिहान बसेको बैठकमा फरेन्सिक ल्याबको सिलबन्दी रिपोर्ट खोलेर अध्ययन सुरु गरेको समितिका सदस्यसचिव सुरेन्द्र अर्यालले जानकारी दिए । मन्त्रालयको सीसीटीभी फुटेज १३ दिनपछि आफैं मेटिने भन्दै अर्थ मन्त्रालयले जवाफ दिएपछि समितिले फरेन्सिक ल्याबमा सीसीटीभीको हार्डडिस्क नै पठाएर रिकभर गर्न लगाएको थियो ।
इटहरीमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु सुनसरी। सुनसरीको इटहरी उपमहानगरपालिका–१२ रिलायसमा आज बिहान ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । मृत्यु हुनेमा मोरङको पथरी शनिश्चरेका २१ वार्षीय रुपेश दाहाल रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा बिराट शिक्षण अस्पतालमा मृत्यु भएको हो । घाइते भएका स्कुटरमा पछाडी सवार मोरङकै सुन्दरहरैचा–३ गछीयाका २१ वर्षीय मनिस निरौलाको सोही अस्पतालमा उपचार भइरहेको छ । इटहरीबाट खनारतर्फ जाँदै गरेको को १ ख ३९६८ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको प्रदेश १–०२–०४३ प १०६४ नम्बरको स्कुटरलाई आज बिहान सवा ७ बजे ठक्कर दिएको थियो ।ट्रक सहित चालकलाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको छ ।
विशेष अदालतको चार फैसला छानबिन गर्न न्यायपरिषदमा उजुरी काठमाडौं। विशेष अदालतले गरेका चारवटा फैसलामाथि छानबिन गर्न भन्दै न्यायपरिषद्मा उजुरी परेको छ । पछिल्लो समय न्यायमा मोलाहिजा गरेको भन्दै न्यायाधीशहरू धमाधम कारबाही परिरहेका बेला विशेष अदालतको फैसलालाई लिएर छानबिन गर्न भन्दै उजुरी परेको हो । उजुरीकर्ताले उच्च सरकारी वकिल कार्यालय पोखराका सहन्यायाधिवक्ता सुरेन्द्रबहादुर थापालाई सफाइ दिने न्यायाधीशसमक्ष पर्याप्त आधार र प्रमाण पेस गरेको तर न्यायाधीशले अनुमानको आधारमा सफाइ दिएको उजुरीकर्ताको दाबी छ । सहन्यायाधिवक्ता थापा ५ लाख घुससहित पक्राउ परेका थिए । सहन्यायाधिवक्ता थापालाई विशेषका न्यायाधीश रमेशकुमार पोखरेल, बलभन्द्र बास्तोला र डा. खुसीप्रसाद थारूको इजलासले गत १६ जेठमा दुवै मुद्दामा उनलाई सफाइ दिएको थियो । सहन्यायाधिवक्ता थापा र न्यायाधीश रमेशकुमार पोखरेल सहकर्मी हुन् । सहकर्मीको मुद्दा हेर्दा स्वार्थ बाँझिने भए पनि न्यायाधीश पोखरेलले मुद्दा हेरेका थिए । महान्यायाधिवक्ता कार्यालयमा हुँदा न्यायाधीश पोखरेल र थापा सहकर्मी थिए । विशेष अदालतले गत आर्थिक वर्ष २०७८÷७९ मा ३ सय ३९ मुद्दाको फैसला गरेको थियो। जसमध्ये ९० प्रतिशतले सफाइ पाएका थिए । आर्थिक वर्षको अन्तिम साता विशेष अदालतका अध्यक्ष श्रीकान्त अर्यालले पत्रकार सम्मेलनमा अख्तियार दुरुपयोगले अनुसन्धान र अभियोजन गर्दा त्रुटिपूर्ण रहेको, प्रर्याप्त प्रमाण नपुगेकाले धेरै मुद्दामा सफाइ पाएको बताएका थिए । विशेष अदालतले घुस रिसवतमा सीमित व्यक्तिको मुद्दामा मात्रै भ्रष्टाचार ठहर गरेको छ । त्यस्तै, सिक्टा सिँचाइसम्बन्धी भ्रष्टाचार मुद्दामा प्राविधिक टोलीको प्रतिवेदन बेवास्ता गरी सिँचाइ विभागको प्रतिवेदनलाई आधार बनाएर पूर्वमन्त्री विक्रम पाण्डेसहित २१ जनालाई सफाइ दिइएको भन्दै न्यायपरिषद्मा उजुरी परेको छ । वृद्धभत्तामा मृतकले उजुरी नदिएको भन्दै मुद्दामा सफाइ भोजपुरको दुस्मानाको तत्कालीन गाविस सचिवद्वय रेवतीकुमार कोइराला, मनीष चौधरी र कार्यालय सहयोगी टेकबहादुर श्रेष्ठलाई सफाइ दिँदा पनि प्रमाणको बेवास्ता गर्दै सफाइ दिएकोमा उजुरी परेको छ । अख्तियारले सचिव कोइरालाले मृतकको नामको वृद्धभत्ता ८३ हजार रुपैयाँ हिनामिना गरेको प्रमाणसहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो । सचिव चौधरीले २ लाख ५० हजार र कार्यालय सहयोगी श्रेष्ठमाथि २ लाख २७ हजार रुपैयाँ हिनामिना गरेको दाबीसहित मुद्दा दायर भएको थियो । मृतक र हराएको व्यक्तिको वृद्धभत्तामा अनियमितता गरेको प्रर्याप्त प्रमाण हुँदा हुँदै सफाइ दिएको उजुरीकर्ताको दाबी छ । फैसलामा सम्बन्धित व्यक्तिले उजुरी नगरेको भन्दै प्रमाण नपुग्ने भन्दै सफाइ दिएको छ । मृतक व्यक्तिले उजुरी गरेनन् भनेर न्यायाधीशले किन प्रमाण खोजे भन्दै उजुरीकर्ताले न्यायपरिषद्को ध्यानाकर्षण गरेको छ । ५ असार २०७६ मा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत खाद्य अनुगमन तथा परीक्षणका लागि चारवटा मोबाइल भ्यान प्रयोगशाला खरिद गर्दा २४ करोडभन्दा धेरै भ्रष्टाचार भएको मुद्दामा सफाइ दिएकोमा न्यायपरिषद्मा उजुरी दर्ता भएको छ । मोबाइल भ्यान खरिद गर्दा भ्रष्टाचार भएको विषयमा अकाट्य प्रमाणलाई नजरअन्दाज गरी सफाइ दिइएको भन्दै फैसला अध्ययन गर्नुपर्ने उजुरीकर्ताको माग छ । चारवटा मोबाइल भ्यान किन्दा आपूर्तिकर्तासँग मिलेमतो गरेको देखिएको र पटकपटक गरेर २४ करोडको अनियमितता हुँदा प्रमाण अप्रर्याप्त भएको भन्दै विशेष अदालतले मुद्दा दायर भएका १३ जनालाई सफाइ दिएको थियो । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीवकुमार कर्ण, वरिष्ठ खाद्य अनुसन्धान अधिकृत पूर्णचन्द्र वस्ती, लेखापाल रविता श्रेष्ठ, शाखा अधिकृत भगीरथ आचार्य र नायब सुब्बा गुरुदत्त गौतमविरुद्ध मुद्दा दर्ता गरेको थियो । कृषि आधुनिकीकरण परियोजनामार्फत चारवटा मोबाइल भ्यान खरिद दर्ता १२ करोड ४० लाख खरिद गरेको भने पनि कार्यालयमा दाखिला नभएको पाइएपछि अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । सो भ्यानमा आपूर्तिकर्तासँग मिलेमतो गरेर गैरकानुनी लाभ लिई राज्यलाई हानिनोक्सानी गरेको दाबी गरिएको थियो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना व्यवस्थापन इकाइ, खुमलटारका तत्कालीन परियोजना निर्देशक नरहरिप्रसाद घिमिरे, वरिष्ठ कृषि इन्जिनियर सरोज अधिकारी र वरिष्ठ योजना अधिकृत तिलकराज चौलागाईंविरुद्ध ८ करोड २६ लाख ९८ हजार ३ सय ७२ रुपैयाँ बिगो दाबी गरिएको थियो । परियोजना निर्देशक लक्ष्मणप्रसाद पौडेल र वरिष्ठ अनुगमन मूल्यांकन अधिकृत इन्द्रहरि पौडेलविरुद्ध ४ करोड १३ लाख ४९ हजार १ सय ८६ रुपैयाँ माग दाबी गरिएको आयोगले जनाएको छ । आयोगले भ्यान आपूर्ति गर्ने प्रुडेन्ट मेडिटेक इन्टरनेसनल कमलादीका आधिकारिक प्रतिनिधि प्रवीण कुँवरलाई २४ करोड ८० लाख ९५ हजार १ सय १६ बिगो माग दाबी गरेको छ । त्यस्तै, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना व्यवस्थापन इकाइ, खुमलटार स्थित लेखाका उपसचिव गणेशप्रसाद चालिसे र लेखापाल बालाराम पोख्रेलविरुद्ध पनि मुद्दा दायर भएको थियो । मुद्दा दायर भएका सबैलाई प्रतिव्यक्ति १२ करोड ४० लाख ४७ हजार ५ सय ५८ रुपैयाँ बिगो दाबी गरिएको थियो। राजधानी दैनिकबाट
मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन गर्न आयोगले सुरु गर्यो गृहकार्य काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरी मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन गर्न गृहकार्य सुरु गरेको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी रुपबाट सम्पन्न गर्न मतदानस्थल र मतदानकेन्द्र पुनरावलोकन कार्ययोजना समेत बनाई सुरु गरिसकेको आयोगले जनाएको छ । ‘यसको लागि २०७९ साउन १ गतेदेखि भाद्र ७ गतेसम्म कार्यक्रम सञ्चालन हुनेगरी आयोगको २०७९ असार ३१ गतेको निर्णय अनुसार कार्यक्रम स्वीकृत गरी जिल्ला जिल्लामा पठाई सकिएको छ,’ आयोगले आज एक विज्ञप्ति जारी गर्दै भनेको छ । सोही कार्यलाई प्रभावकारी बनाउन आज मतदानस्थल तथा मतदानकेन्द्र निर्धारण समन्वय समितिको वैठक बसेको थियो । बैठकले आवश्यक पूर्वाधार सहितको पायक पर्ने स्थानमा मतदानस्थल तथा मतदानकेन्द्र निर्धारण गरी पुनरावलोकन गर्दै सिफारिश गरी पठाउने सम्बन्धमा आवश्यक सहयोग, सहजीकरण र समन्वय गरिदिन सरकार, गृह मन्त्रालय, अर्थ मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयहरूलाई अनुरोध गर्ने निर्णय गरेको छ । जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिबाट आयोजना गरिएको छलफल कार्यक्रम र बैठकमा अनिवार्य रुपमा सहभागी हुनका लागि सम्बन्धित राजनीतिक दलका जिल्लास्तरीय संगठनलाई आवश्यक निर्देशन हुन आयोगमा दर्ता भएका सबै राजनीतिक दलहरुलाई पत्राचार गर्ने निर्णय समेत गरेको छ ।
अब दलहरुले मानसिकता परिवर्तन नगर्ने हो भने भविष्य छैनः सहरी विकासमन्त्री चौधरी काठमाडौं । सहरी विकास मन्त्री मेटमणि चौधरीले राजनीतिक दलहरुले मानसिकता बदल्न जरुरी भएको बताएका छन् । नेपाल नगरपालिका संघले आइतबार होटेल र्‍याडिसनमा नव निर्वाचित नगर प्रमुख, उपप्रमुख एवं प्रशासकीय अधिकृतका लागि आयोजना गरेको अभिमुखिकरण कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । ‘जनताले खासखास ठाउँहरुमा प्रमुख दलहरुलाई चुनौति दिएका छन् । यो राम्रो पनि हो । अब पनि दलहरुले मानसिकता परिवर्तन नगर्ने हो भने भविष्य छैन । हामी अब सुध्रिन जरुरी छ । हाम्रा व्यवहारहरु सुध्रिनु जरुरी छ,’ मन्त्री चौधरीले भने । प्रशिक्षणात्मक मन्तव्य राख्दै मन्त्री चौधरीले मेयर उपमेयरहरुलाई भने, ‘तपाईँहरु जनताका घरघरसँग जोडिनुभएको छ । साँचो अर्थमा संघीयता कार्यान्वयन गर्ने ठाउँमा हुनुहुन्छ । अब पनि मेयर उपमेयर भएर जनतालाई थर्काउने, पुलिसलाई थर्काउने, काममा ढिलाई गर्ने र भ्रष्टाचारमा रम्ने हो भने जनताले सहदैनन् । तपाईँहरु दलका प्रतिनिधि हुनुहुन्छ । दलहरुको औचित्य पुष्टि गर्नुस् ।’ अहिले जनताको मानसिकता बदलिसकेकाले जनप्रतिनिधिबाट उनीहरुले धेरै आशा र अपेक्षा गरेको उनले बताए । मन्त्री चौधरीले थपे, ‘म सुध्रिन्छु, तपाईँहरु पनि सुध्रिनुस् । म गलत गर्दिनँ, तपाईँहरु पनि गलत नगर्नुस् ।’ सहरी विकासमन्त्री चौधरीले भौगोलिक, आर्थिक, सामाजिक एवं विविध कारणले पछाडि परेका नगरपालिकाहरुलाई समान ढंगले विकासको मार्गमा अघि बढाउन मन्त्रालय तयार रहेका बताए । हरेक नगर पालिकामा कम्तिमा ३ जना अर्बन प्लानरको व्यवस्था गरेर व्यवस्थित सहर बनाउने उनले आफ्नो योजना समेत सुनाए । अभिमुखिकरण कार्यक्रममा बागमती प्रदेशका नवनिर्वाचित मेयर, उपमेयर एवं प्रशासकीय अधिकृतहरुको उपस्थिति थियो ।
चुनावमा आफूले टिकट पाए ठिक, अरुले पाए बेठिक भन्ने प्रवृत्ति देखियोः महासचिव पोखरेल सुर्खेत । नेकपा(एमाले)का महासचिव शङ्कर पोखरेलले व्यवस्था परिवर्तनमा राजनीतिक दलबीचको एकता सफल भए पनि विकास र समृद्धिका विषयमा दलहरु एकजुट हुन नसकेको बताएका छन् । सुर्खेतमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को निरन्तरता एमाले भएको दाबी गरेका छन् । “चुनावमा आफूले टिकट पाए ठिक, अरुले पाए बेठिक भन्ने प्रवृत्ति सबैतिर देखियो, टिकट नपाए पनि जिताउँछु भन्नुपर्नेमा उल्टै असहयोग गरेको पाइयो”, उनले भने, “आफूले टिकट नपाउँदा घरमै बसिदिने, प्रचार–प्रसारमा नजाने र उम्मेदवारलाई हराउन लाग्ने जस्ता प्रवृत्ति चुनावमा देखियो, यस्तो प्रवृत्ति कम्युनिष्ट आचरणभित्र पर्दैन ।” एमाले स्थायी कमिटी सदस्य एवं कर्णाली प्रदेश इञ्चार्ज यामलाल कँडेलले पार्टी कार्यकर्ता र जनप्रतिनिधिहरु सधैँ जनताको बीचमा देखिनुपर्ने बताए । “पार्टीमा पद पाउनासाथ आफ्नो गाउँमा, क्षेत्रमा पाइला नटेक्ने कार्यकर्ताबाट चुनाव जित्न सकिँदैन, जनतामा माझमा पुगेर सुख–दुःखमा जसले साथ दियो उसैले जित्छ”, उनले भने ।
दुर्लभ चुच्चे ह्वेल समुद्री किनारमै देखिन थाले, वैज्ञानिकहरू चिन्तित आम्सटर्डम । विशेषगरी गहिरो समुन्द्रमा पाइने धेरै अनौठो र विरलै देखिने चुच्चे ह्वेलहरू नेदरल्यान्ड्सको किनारको छेउमा भेटिएका छन् । एसओएस डल्फिन फाउन्डेसनका अनुसार जुलाई १९ मा नेदरल्यान्ड्सको समुद्री तटमा तीनवटा चुच्चो ह्वेलहरू फेला परेका थिए । उक्त ह्वेलहरूलाई समुद्री किनारबाट टाढा राख्न आवश्यक रहेको विवरणहरूमा जनाइएको छ । गहिरो समुद्री ह्वेलहरूलाई उत्तरी सागरको सतही पानीमा बाँच्न गाह्रो हुने भन्दै पछिल्लो पटक देखिएको दृश्य चिन्ताजनक भएको फाउन्डेसनले जनाएको छ । चुच्चो ह्वेल असामान्य र अस्पष्ट २४ प्रजातिहरुको एक विविध समूह हो । तिनीहरू लम्बाइमा ४२ फिट सम्म पुग्न सक्छन् । समुद्री जनावरहरूमा असामान्य मानिने चुचे ह्वेल समुद्रमा शिकार गर्न ठूलो गहिराइमा डुबुल्की मार्छन् । तिनीहरू लगभग ९ हजार फिटको गहिराइमा डुब्न सक्छन् र चार घण्टाभन्दा बढीको लागि आफ्नो सास रोक्न सक्छन् । लन्डनको सेटासियन स्ट्रान्डिङ इन्भेस्टिगेसन प्रोग्राम (सीएसआइपी)को जुलोजिकल सोसाइटीका परियोजना प्रबन्धक रोब डेभिलका अनुसार धेरै चुच्चे ह्वेलहरू सिकारी र मानव सृजित प्लास्टिक प्रदूषणका कारण मरेर किनारमा पुग्छन् ।
‘एक नेपाली, एक पर्यटक’ अभियान सञ्चालन गर्न चेम्बरको प्रस्ताव काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले नेपालमा लगानी र पर्यटक भित्र्याउन ओमानका लागि नवनियुक्त राजदूत डोरनाथ अर्यालसँग प्रस्ताव गरेको छ । नवनियुक्त राजदूत अर्यालसँग आज भएको छलफलमा चेम्बर पदाधिकारीले ओमानमा रहेका प्रत्येक नेपालीले एक ओमानी नागरिक भित्र्याउने वातावरण बनाउन आग्रह गरेका हुन् । चेम्बर अध्यक्ष राजेन्द्र मल्लले रोजगारीमा गएका प्रत्येक नेपालीले एक जना ओमानी नागरिक भित्र्याउन पहल गर्ने हो भने पर्यटन क्षेत्रले ठूलो फड्को मार्ने बताए । ओमानमा झण्डै २० हजार नेपाली कार्यरत छन् । “एशियाली मुलुक ओमान आर्थिक दृष्टिकोणले निकै सम्पन्न छ”, उनले भने, “त्यहाँका नागरिकलाई नेपाल भ्रमण गराउने गरी राजदूतले भूमिका निर्वाह गरिदिनुपर्‍यो ।” सो क्रममा राजदूत अर्यालले ओमानबाट पर्यटक तथा वैदेशिक लगानी भित्र्याउन आफ्नो ध्यान केन्द्रित हुने विश्वास दिलाए । ओमानमा नेपाल हाउस स्थापनाका लागि आफूले पहल गर्ने उनले बताए ।
धार्मिक तथा पर्यटकिय स्थल मनकामना मन्दिर {फोटो फिचर} काठमाडौं । गोरखा जिल्लामा अवस्थित मनकामना मन्दिर नेपालको एक महत्वपुर्ण धार्मिक तथा पर्यटकिय स्थल हो । आफ्नो मनले चिताएको मनोकामना अर्थात मनको ईच्छा पूरा गर्ने भगवती देवी भएकोले यो मन्दिरको नाम मनकामना रहन गएको हो भन्ने जनविश्वास रहिआएको छ । मनकामना मन्दिर, गोरखा जिल्लाको सदरमुकामबाट दक्षिणपुर्वी भागमा अवस्थीत छ । यो मन्दिर गोर्खाको सदरमुकामको पोखरीथोक बजारबाट १२ किलोमिटर दक्षिण, तनहुँको आबुखैरेनी देखि ५ किलोमिटर पूर्व र चितवनको मुग्लिनबाट २६ किलोमिटर उत्तरमा अवस्थित छ । समुद्री सतहदेखि १३०३ मिटरको उचाईमा अवस्थित यो मन्दिरको परिसरबाट दक्षिणतीर महाभारत लेक र छिम्केश्वरी डाँडाका साथै उत्तरी भागमा अन्नपुर्ण हिमाल र मनास्लु हिमालका चुचुराहरु देख्न सकिन्छ । मन्दिर प्रांगणबाट बिहान बेलुकी दुवै समयमा सुर्यादय सुर्यास्तको मनमोहक दृष्य पनि यहाँबाट देख्न सकिन्छ । किंवदन्तीअनुसार मनकामना मन्दिर १७ औं शताब्दीमा राजा राम शाहकी रानी लिलावती अवतारी थिईन भन्ने कथन छ । लखन थापा रानी लिलावतीका अति नजिकका भक्त थिए । एकपल्ट राजा रामशाहले गोरखाको उपल्लो कोट दरवारमा आफ्नी रानी र लखन थापालाई आफ्नो सिंहासनमा एकैसाथ देखेछन् । त्यसपछि राजा अचानक बिरामी भई उनको मृत्यु भयो । उनको अन्त्येष्टि मस्र्याङदी नदीको–दरौदी दोभान राम शाह घाटमा गरियो । त्यसवेलाको चलन अनुसार रानी लिलावती पनि राजा रामशाहसँगै सती गएकी थिइन् । यता, भक्त लखन थापा भने रानीको शोकमा शोकाकुल भई विलाप गर्दा रुन कराउन थाले । एक दिन उसको सपनामा आई रानीले, “तिम्रो ईच्छा पूरा गर्न तिम्रै गाउँको एकछेउमा फेरी प्रकट हुनेछु,” भनेर भनिन् रे । त्यसको सात महिनापछि हाल मनकामना रहेको ठाउँमा त्यहाँका एक व्यक्तिले गोरु जोत्दा हलो अडकी त्यसबाट दुध र रगत बग्न थालेछ । दृव्यदृष्टि भएका लखन थापाले तान्त्रिक विधिद्धारा पूजा गरेपछि रगत बग्न रोकिएको र सोही थलोमा देवीको मन्दिर स्थापना गरियो । सो घटनापछि गोरखाका राजाले मनकामना माईको सेवा गर्न लखन थापा र उनका दरसन्तानलाई पुजारी नियुक्ति गरि नित्य पूजा चलाउन जग्गा गुठी र विर्ता लालमोहर लगाई दिएका थिए । मनकामना माईको हालको पुजारी लखन थापाको सत्रौ पुस्ताका सन्तान हुन् । यो मन्दिर परिसरमा १५ भन्दा बढी देवी देउताहरुको मन्दिरहरु रहेका छन् । ती मध्येको एउटा हो, वंकेश्वरी मन्दिर । यो मन्दिर मनकामना मन्दिरको पुर्वपट्टी अवस्थित छ जहाँ वाक्य फुट्न नसकेका वा लुला लङगडा बालबालिकालाई दर्शन गराएमा वालवालिकाको बोली फुट्ने र हातखुट्टा चल्ने जनविश्वास रहि आएको छ । मनकामनाको दर्शनले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास भएकाले यहाँ दर्शन गर्ने भक्तजनको वर्ष भरि नै भिड लाग्ने गर्दछ । विषेश गरेर दशैंमा पूजा गर्न आउनेहरूको यहाँ ठूलो भीड लाग्छ। यहाँ प्रत्येक अष्टमीका दिन बलि चढाइन्छ। पृथ्वीनारायण शाहको खस र मगर सेनाहरूले लिम्बुवानी सेनालाई हराएपछि यहिं आएर लखन थापा मगरले देविलाई बलि भेट गरेको भन्ने कथन छ । मानिसहरु यो भगवती मन्दिरलाई सम्झी आफुले चिताएको काम पूरा होस् भनि भाकल गर्दछन् । आफ्नो भाकल चढाउन मन्दिरमा हजारौं भक्तजनहरु पूजा गर्न, बली चढाउन, परेवा उडाउन वर्षेनी यहाँ पुग्ने गर्दछन् । केबुलकारबाट ११ मिनेटमै मनकामना पुग्न सकिन्छ। पैदल यात्रा गर्न रुचाउनेहरू आबुखैरेनीबाट ४ घन्टाको उकालो हिँडेर मनकामना पुग्छन्। मन्दिरमा नित्य पूजा विहान ७ वजेदेखि साँझ ६ बजेसम्म गरिन्छ । साँझको आरती पनि निकै मनमोहक हुने गर्दछ। भित्री पूजा सकेर पुजारीले मन्दिर परिक्रमा गरिसकेपछि मात्र सर्वसाधरणहरुको लागि वलि र पूजा शुरु हुन्छ । मन्दिर परिसरमा रहेको यो भिमकाय चाँपको रुखबारे कसैले पनि हेक्का राख्दैनन् र सोध्दैनन् पनि । तर मनकामना मन्दिर अगाडी रहेको यो चाँपको रुख करिव ४०० वर्ष भएको स्थानियबासीहरु बताउँछन् । पहेलो फुल फुल्ने यो चाँपको रुख उमेरका कारण बोक्राहरु चाउरिदै गए जस्तो देखिन्छ । स्थानियबासीहरुका अनुसार चाँपको यस रुखबाट कडा वासना आउँछ । जुन वासना लम्जुङसम्म पुग्छ भनिन्छ । उनीहरुका अनुसार हुरी बतास अउँदा धेरैपटक रुखका हाँगाहरु भाँच्चिए तर अहिलेसम्म मानविय तथा भौतिक नोक्सानी भएको छैन । त्यसैले यो रुखमा पनि भगवती देवीको वास भएको मानिन्छ । हेर्नुहोस् भिडियो:
दश महिनामा दुई खर्ब २३ अर्बभन्दा बढीको बैदेशिक सहायता प्रतिवद्धता प्राप्त काठमाडौं । गत आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा नेपालले २ खर्ब २३ अर्ब ७८ करोड रुपैयाँ बैदेशिक सहायता प्रतिबद्धता प्राप्त गरेको छ । २०७८ साउनदेखि २०७९ वैशाख मसान्तसम्मको अवधिमा उक्त प्रतिबद्धता प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ । प्राप्त बैदेशिक सहायता प्रतिबद्धतामा अनुदान सहायता ८९ अर्ब १७ करोड रुपैयाँ र ऋण सहायता १ खर्ब ३४ अर्ब ६१ करोड रुपैयाँ रहेको छ । बैदेशिक सहायता प्रतिबद्धतामा अनुदान र ऋणको अंश क्रमसः ३९.८ प्रतिशत र ६०.२ प्रतिशत रहेको छ । मन्त्रालयका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षको पहिलो १० महिनामा बैदेशिक सहायता प्रतिबद्धतामा १०.६ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा नेपालले २ खर्ब २ अर्ब २८ करोड रुपैयाँको बैदेशिक सहायता प्रतिबद्धता प्राप्त गरेको थियो । कुल बैदेशिक सहायता प्रतिबद्धतामध्ये युएसएआइडी, आइएमएफ, विश्व बैंक र एशियाली विकास बैंकको त्रमसः ३५.६ प्रतिशत, २०.९ प्रतिशत, १७.४ प्रतिशत र १२।३ प्रतिशत रहेको छ । बैदेशिक सहायता प्रतिबद्धतामध्ये सबैभन्दा बढी बजेटरी सहायतामा ६९.२ प्रतिशत र सबैभन्दा कम खानेपानी तथा सरसफाई क्षेत्रमा १।४ प्रतिशत प्राप्त भएको छ ।
कांग्रेस महामन्त्री थापा भन्छन्- अब सरकारको बचाउ गर्न सकिँदैन काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारको कार्यशैलीलाई लिएर असन्तुष्टि जनाएका छन् । पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा महामन्त्री थापाले सरकारको कार्यशैली प्रति आफू सन्तुष्ट नरहेको बताए । ‘म पार्टीको कार्यशैली हेर्दा सन्तुष्ट छैन । अब आफ्नै पार्टीको सरकारको बचाउन गर्न सक्ने अवस्था रहेन,’ उनले भने । आफूहरूले हिजो केपीलाई सरकार कसरी चलाउनु पर्छ भनेर प्रश्न गरेको भन्दै महामन्त्री थापाले आज कांग्रेसको सरकार पनि त्यही बाटोमा हिँडेको आरोप लगाए । पार्टीमा केही व्यक्तिले सभापति शेरबहादुर देउवालाई खुसी बनाउन लागे पनि त्यसले पार्टीको हित नहुने उनको तर्क छ ।
डिसी नेपालले मनायो १५ औँ वार्षिक उत्सव {भिडियोसहित } काठमाडौं। डिसी नेपाल प्रा.लिले १५ औँ वार्षिक उत्सव मनाएको छ। स्थापना कालदेखि नै पाठक, दर्शक र स्रोता माझ विश्वासनिय छवी बनाउँदै आएको डिसीले आज भव्यताका साथ १५ औँ वार्षिक उत्सव मनाएको हो। सो अवसरमा संस्थामा आवद्ध सम्पूर्ण पत्रकारहरुलाई प्रोत्साहन स्वरुप सम्मान पनि गरेको थियो। पत्रकारहरुलाई सम्मान गर्दै प्रकाशक दीपा पौड्यालले संस्थालाई यो उचाईंसम्म ल्याउन परिश्रम गरेका सबै सहकर्मीहरुलाई धन्यवाद व्यक्त गरेकी छिन्। ‘कुनै पनि संस्था एकल रुपमा चल्न सक्दैन। १५ वर्षको यात्रामा विभिन्न संचारकर्मीहरुले योगदान गर्नुभएको छ। उहाँहरुको योगदानले नै आज हामी यो स्थानमा आएका छौँ।त्यसकारण संस्थामा आवद्ध वर्तमान र पूर्वसहकर्मी सबैलाई धन्यवाद दिन चाहन्छु,’ पौड्यालले भनिन्, ‘डिसी नेपाल नेपाललको पुरानो अनलाईन संचार माध्यम हो। हामीले सम्प्रेषण गर्ने सूचना धेरै पाठकका माझ लोकप्रिय बनेको छ।त्यसकारण सत्य,तथ्य सूचना सम्प्रेषण गर्नमा डिसी नेपाल कहिल्यै चुक्दैन।’ कार्यक्रमको प्रमुख अथितिका रुपमा संचालक समितिका सदस्य अमेरिकाबाट कवीन्द्र सिटौला आएका थिए। उनले डिसी नेपालको पत्रकारीताले नेपालमा मात्र नभएर विश्वभरका पाठकहरुलाई नै प्रभावित तुल्याएको बताए। पत्रकारिता राज्यको चौथो अंग भएकाले पेशाप्रति समर्पित पत्रकारहरुलाई सम्मान गर्दै संस्थालाई थप मर्यादीत र विश्वासनीय बनाउनेमा आफ्नो भूमिका सँधै रहने बताए। १५ वर्षको यात्रामा विभिन्न आरोह,अवरोह पार गर्दै आजको मितिसम्म पनि पाठकको माझ लोकप्रिय भएकाले थप यात्राका लागि संस्थालाई शुभकामना पनि व्यक्त गरेका छन्। भिडियो हेर्नुहोस्: 
चरनबाट घर लैजाँदै बाख्रा वेनी। म्याग्दीको धवलागिरि गाउँपालिका– ७ धारापानीमा चरन क्षेत्रवाट बाख्रालाई घर लैजाँदै गरेका स्थानीय कृषक ।
श्रीलंका कसरी विनाशको हदसम्म पुग्यो, अवस्थाको जिम्मेवार परिस्थिति वा सरकार ? काठमाडौं । छिमेकी राष्ट्र श्रीलंकामा सिंगो व्यवस्था ध्वस्त भएपछि जनताले विद्रोह गरेका छन् । राष्ट्रपति-प्रधानमन्त्रीको घर हजारौं जनताको कब्जामा छ । ठूला नेता घटनास्थलबाट बेपत्ता छन् र देशमा यस्तो अराजकताको अवस्था छ कि अब के हुन्छ भन्ने न जनतालाई थाहा छ न नेतालाई नै थाहा छ । श्रीलंकाको आर्थिक संकट अहिले राजनीतिक संकटमा परिणत भएको छ । राष्ट्रपति गोटाबाया राजापाक्षेले राजीनामा दिन राजी भएका छन् । प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले पनि राजीनामा दिने प्रस्ताव गरेका छन् । यस्तो अवस्थामा अब त्यहाँ सर्वदलीय सरकार बनाउने तयारी सुरु भएको छ । समाचार एजेन्सीका अनुसार सभामुख महिन्दा यापा अबेवर्देनाले सोमबार संसदीय मामिला समितिको बैठक बोलाएका छन् । बैठकमा देशको राजनीतिक अवस्थाका बारेमा छलफल हुनेछ । बैठकमा नयाँ राष्ट्रपतिको नियुक्ति र नयाँ सरकार गठनका विषयमा छलफल हुनेछ । महिनौंदेखि आर्थिक संकटसँग जुधिरहेको श्रीलंकाका जनता शनिबार आक्रोशित बनेका थिए । हजारौं प्रदर्शनकारीले राष्ट्रपति निवास कब्जा गरेका थिए। सोही दिन प्रधानमन्त्री रनिल विक्रमासिङ्घेको निजी निवासमा पनि आगजनी गरिएको थियो । कोलम्बोस्थित राष्ट्रपति निवासमा तीन दिनदेखि हजारौं मानिस बसेका छन् । राष्ट्रपति गोटाबाया राजापाक्षे गोप्य स्थानमा गएका छन् । त्यहाँबाट उनले प्रधानमन्त्री विक्रमासिङ्घेलाई जुलाई १३ मा आफ्नो पदबाट राजीनामा दिने बताएका छन् । राष्ट्रपतिको राजीनामापछि के हुन्छ ? श्रीलङ्काको संविधानअनुसार राष्ट्रपतिले पदबाट राजीनामा दिएमा प्रधानमन्त्री स्वतः कार्यवाहक राष्ट्रपति बन्छन्। नयाँ राष्ट्रपति निर्वाचित नभएसम्म प्रधानमन्त्री कार्यवाहक राष्ट्रपति रहनेछन् । तर, प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले पनि राजीनामा दिने बताएका छन् । यस्तो अवस्थामा राष्ट्रपति र प्रधानमन्त्री दुवैले राजीनामा दिएमा सभामुख ३० दिनका लागि कार्यवाहक राष्ट्रपति हुने संवैधानिक व्यवस्था छ । श्रीलंकाको वर्तमान राजनीतिक संकटमा सभामुख अबेवर्देना अब कार्यवाहक राष्ट्रपति बन्ने भएका छन् । तर ३० दिनभित्र संसदले नयाँ राष्ट्रपति चयन गर्नुपर्नेछ । राष्ट्रपतिको कार्यकाल सकिन अझै २ वर्ष बाँकी छ । अर्थात् नयाँ राष्ट्रपति दुई वर्षसम्म यही पदमा रहनेछन् । श्रीलंकाको अवस्था कस्तो छ ? २२ करोड जनसङ्ख्या भएको श्रीलंका सन् १९४८ मा स्वतन्त्र भएपछि अहिलेसम्मकै सबैभन्दा खराब आर्थिक अवस्थाबाट गुज्रिरहेको छ । खाद्यान्न र औषधि जस्ता आधारभूत आवश्यकताको पनि अभाव छ । खाना पकाउन मानिसहरु मट्टितेल र ग्यास सिलिन्डर किन्न लाइन लागेका छन् । हजारौं र लाखौं मानिसहरू महिनौंदेखि सडकमा छन्। मुलुकलाई आर्थिक संकटमा फसाएको आरोप लगाउँदै जनताले राष्ट्रपति र प्रधानमन्त्रीको राजीनामा माग गरिरहेका छन् । सडकमा जनताको आक्रोश बढेपछि प्रधानमन्त्री महिन्दा राजापाक्षेले मे महिनामा राजीनामा दिएका थिए । र अब राष्ट्रपति गोटाबाया राजापाक्षेले पनि राजीनामा दिन लागेका छन् । समाचार एजेन्सीका अनुसार श्रीलंकाको अवस्था यति बिग्रिएको छ कि विद्यालय बन्द गर्नुपरेको छ । इन्धन पनि अत्यावश्यक सेवामा मात्र सीमित गरिएको छ । पेट्रोल र डिजेलको अभावका कारण बिरामी अस्पताल जान पाएका छैनन् । खाद्यान्नको मूल्यले आकाश छोएको छ । यति मात्र होइन, रेलको संख्या पनि घटाइएको छ । यात्रुहरू डिब्बाको माथि बसेर यात्रा गर्न बाध्य छन्। राजधानी कोलम्बोलगायतका प्रमुख सहरहरूमा इन्धन किन्न सयौं मानिस घण्टौं लाइनमा बस्न बाध्य छन्। कहिलेकाहीँ प्रहरी र सेनासँग जनताको झडप पनि हुने गरेको छ । यो सब कसरी भयो ? सन् २०१५ मा महिन्दा राजापाक्षेको सरकार आएपछि चीनसँगको निकटता बढेको छ । चीनले पूर्वाधारको नाममा ठूलो ऋण दिएको छ । श्रीलंकाको आर्थिक संकटको प्रमुख कारण चीन रहेको मानिन्छ । श्रीलंकामा विदेशी ऋण बढ्दै गयो। श्रीलंकाको केन्द्रीय बैंकका अनुसार सन् २०१० मा देशमा २१.६ बिलियन डलरको बाह्य ऋण थियो, जुन २०१६ मा बढेर ४६.६ बिलियन डलर पुगेको छ। हाल श्रीलंकासँग ५१ अर्ब डलरभन्दा बढी ऋण छ। ऋण बढी लिँदा र कम आम्दानी गर्दा श्रीलंकाको विदेशी मुद्रा सञ्चितिमा ह्वात्तै कमी आएको छ । अप्रिल २०१८ मा करिब १० अर्ब डलरको विदेशी विनिमय सञ्चिति थियो, जुन सन् २०२२ को मे सम्ममा १.७ अर्ब डलरमा झरेको छ । श्रीलंकाको अर्थतन्त्र धेरै हदसम्म पर्यटनमा निर्भर छ। कोरोनाका कारण पर्यटन क्षेत्र नराम्ररी प्रभावित भएको छ । श्रीलंकाको जीडीपीमा पर्यटन र सम्बद्ध क्षेत्रहरूको हिस्सा करिब १०% छ। विदेशी पर्यटक नआएका कारण विदेशी मुद्रा सञ्चिति पनि घटेको छ ।
बहिनी बस चलाउने, दिदी भाडा उठाउनेः छोराछोरी गाडी नचलाउन भन्छन्, दिदी बहिनी मान्दैनन् बुटवल । त्यति ठूलो गाडी कसरी चलाउँदा हुन् ? कसरी रोक्न सकिन्छ होला ? सानो छँदा यस्तै कौतूहल राख्थिन् कपिलवस्तुकी निमा सारु । उनको सपना थियो–साँच्चै ठूलो भएपछि गाडी कुदाउने । सीप भए जुनसुकै पेसाबाट सफलता हासिल गर्न सकिन्छ भन्ने उदाहरण उनले प्रस्तुत गरेकी छन् । अनि उनलाई सहचालक बनेर सघाइरहेकी छन् सहोदर दिदी शान्ता मल्लले । बुटवल–कृष्णनगर रुटमा सार्वजनिक बस चलाउने निमा आफू सबैका लागि उदाहरण बनेको बताउँछिन् । हरेक दिन बुटवलको अस्पताल लाइन र पुरानो बसपार्कमा लु१ज २८१२ नम्बरको सारू ट्राभल्स गाडी रोकेर निमा र शान्ता यात्रु खोजिरहेका भेटिन्छन् । निमा गाडीको चालक सिटबाट यात्रुतर्फ आँखा डुलाउँछिन् भने शान्ताले यात्रुहरूलाई आग्रह र अनुरोध गर्दै आफ्नो बसतिर तान्ने प्रयास गरिरहेकी हुन्छिन् । वरिपरि हेर्ने मान्छेहरू भने अचम्म मानिरहेका हुन्छन् । निमा र शान्ता सहोदर दिदीबहिनी हुन् । कपिलवस्तु वाणंगगा नगरपालिका–८ का यी दिदीबहिनीले यात्रुलाई सेवा दिन थालेको आठ वर्ष बित्यो । ‘गाडीका ‘स्टाफ’ हुन् भन्ने थाहा नपाएर होला कहाँ जाने हो भनेर सोध्दा यात्रुले किन भनेर समेत भन्छन्,’ निमा भन्छिन्, ‘सुरुसुरुमा कोही त महिला चालक र सहचालक देखेपछि सिटमा बसिसकेका यात्रु पनि झर्ने गरे तर अहिले चिनेका मानिस खोजिखोजी हाम्रै गाडीमा आउँछन् ।’ प्रायः पुरुषले गर्ने काम चालक र सहचालकमा महिलालाई देख्दा मानिसहरू छक्क पर्नु स्वाभाविक नै मान्छिन् निमा । निमाले बसको ‘स्टेरिङ’ घुमाएको यात्रु हेरिरहन्छन् । २०५३ सालमा तत्कालीन प्रवेशिका परीक्षा (एसएलसी) उत्तीर्ण भएपछि घर परिवारले वाणगंगाका धनबहादुर सारूसँग निमाको विवाह गरिदिए । १६ वर्षको उमेरमै बिहेपछि केही वर्ष बालबच्चा हुर्काउँदैमा उनको समय बित्यो । त्यसपछि उनले गाउँको एउटा सहकारीमा कार्यालयको ‘क्यासियर’ का रूपमा काम गर्न थालिन् । त्यसका लागि उनले स्कुटर चढेर जानुपर्ने भयो । स्कुटर लाइसेन्स अनिवार्य भयो उनलाई । २०७० सालमा लाइसेन्स निकालिन् । गाडी चलाउने सपना त मनमा छँदै थियो । २०७१ सालमा बुटवलको एक इन्स्टिच्युटबाट गाडीको लाइसेन्सका लागि आवेदन फाराम खुलेको थाहा पाइन् । सवारीचालक अनुमति पत्र (लाइसेन्स) को आवेदन दिएपछि गाडी चलाउन सिक्न थालिन् । लाइसेन्स ट्रायल परीक्षा पास गरेपछि पहिलो पटकमै गाडीको लाइसेन्स निस्कियो । त्यसपछि गाडी हाँक्ने उनको हौसला बढ्दै गयो । उनले पति धनबहादुरलाई भनिन्, ‘अब मैले गाडी चलाउन गाडी किन्नुपर्‍यो ।’  पतिले सहजै स्वीकार गरे । २०७२ वैशाखमा गाडी (विङ्गर) किनियो । सुरुमा घरबाट राजमार्गसम्म गाडी लगिन् उनले । तर राजमार्गमा चलाउन डराइन् । चालक जागृत श्रेष्ठलाई राखेर आफू सहचालक भइन् । चालकको पूर्ण विश्वास नहुने, घर गए आउने ठेगान नहुने हुँदा उनलाई हैरानी पनि भयो । चालकलाई तलब दिनुभन्दा आफूले गाडी चलाउने र दिदीलाई सहचालक बनाएर अगाडि बढ्न थालिन् । त्यसपछि सुरु भएको हो दिदीबहिनीको गाडी यात्रा । पतिको साथ र समर्थनले नै आफू बस चालक बन्न सफल भएको निमा बताउँछिन् । ‘मेरो श्रीमानले प्रोत्साहन र समय दुवै दिनुभयो । गाडी किनिदिनुभयो । त्यसैले म आज सार्वजनिक गाडीको चालक हुन सफल भएँ,’ निमाले भनिन् । निमाका पति धनबहादुर बिजुलीका काम गर्छन् । दिदीबहिनी बिहानदेखि रातिसम्म सडकमै हुन्छन् । साँझ ८–९ बजेसम्म उनीहरू सडकमै हुन्छन् । दैनिक निश्चित रुटमा कम्तीमा तीन ट्रिप चलाउनुपर्छ तर रुट कहिले कहाँ, कहिले कहाँ ? अर्घाखाँचीबाट शान्ताको परिवार पनि निमाको नजिकै बसाइसराइ गरी आएको हो । उनीहरूको मूल घर (जन्म) अर्घाखाँचीको छत्रदेव केरुङ्गामा हो । शान्ताका पति रोजगारीको सिलसिलामा भारतमा छन् । बहिनीको प्रस्तावमा दिदी शान्ताले पनि साथ दिइन् । अहिले बहिनी गाडीमा लोकदोहोरी गीत घन्काउँदै गाडी कुदाउँछिन्, दिदी भाडा उठाउँछिन् । ‘के थाहा लेखेको के रहेछ, आखिर हामी दिदीबहिनी गाडी लाइनमा आउँछौं भन्ने,’ शान्ता भन्छिन् । बहिनी निमाको इच्छाशक्ति, कामप्रति रुचि र प्रतिबद्धताले नै पुरुष दबदबा रहेको यातायात क्षेत्रमा चुनौतीको सामना गर्दै सफल भएको शान्ताको भनाइ छ । ‘काममा लाग्नुपर्छ, अघि बढ्नुपर्छ भन्ने कुरा सधैँ भित्री मनमा बहिनीको थियो,’ शान्ता भन्छिन्, ‘अहिले आएर मलाई पनि यसैमा जोड्न सफल भइन् ।’ आफ्नो मेहनत, परिश्रमले दिदीबहिनीले फड्को मारेका छन् । निमा उमेरले ४१ वर्ष र शान्ता ४२ वर्षकी भइन् । आफ्नो पेसाप्रति दिदीबहिनी पूर्ण सन्तुष्ट छन् । ‘महिलाले पनि पुरुषसरह काम गर्न सक्छन् भनेर देखाउन पाउँदा आफूलाई गर्व लाग्छ,’ निमा भन्छिन् । अहिले गाडीबाट सबै खर्च कटाएर निमाको मासिक एक लाख रुपियाँभन्दा बढी कमाइ हुन्छ । ‘तेल महंगो भएको छ । खर्च धेरै छ, मर्मत सम्भारमा पनि खर्च धेरै लाग्न थाल्यो, सबै खर्च कटाएर दैनिक ४५ सयदेखि पाँच हजार रूपैयाँसम्म बचत हुन्छ,’ उनले भनिन् । पहिलो कोरोना महामारी आउनुभन्दा अगाडि नै निमाले गाडीको किस्ता तिरिसकेकी थिइन् । ‘धन्न कोरोना अगाडि गाडीको किस्ता तिरेर सकिएको थियो । एक वर्ष गाडी थन्किँदा के हुन्थ्यो होला हालत ?,’ निमाले विगतमा यातायात क्षेत्रले भोगेको समस्या सम्झिइन् । निमाका दुई छोरी र एक छोरा छन् । ठूलो छोरी २४ वर्षकी भइन् । छोरा १७ वर्षका भए । निमालाई छोराछोरीले गाडी नचलाउन सुझाव दिन्छन् तर निमा आफूले सक्ने उमेरसम्म गाडी लाइनमै काम गर्ने सोचमा छिन् । ‘मैले गाडी चलाउँदा छोराछोरीलाई लाज भयो रे त्यहीँ भन्छन् तर मैले सक्ने उमेरसम्म गाडी चलाउने हो,’ उनले हौसलाका साथ भनिन् । महिला चालकको रूपमा बुटवल यातायात प्रालिले निमालाई सम्मान समेत गरेको छ । निमाले राम्रो गाडी चलाउँछिन् भन्ने सुनेपछि आजभोलि गाडीको ‘क्यू’ बाहिरको समयमा पनि उनी रिजर्भमा टाढा–टाढासम्म पुग्छिन् । ‘रिजर्भमा जाने हो भनेर फोन गर्छन् । कहिले सुपादेउराली, कहिले सौराहा त कहिले दाङ–घोराही हुँदै बर्दियासम्म पनि पुगेकी छु,’ उनले भनिन् ।
सरकारको कार्यशैलीबारे शेखर पक्षले केन्द्रीय समिति बैठकमा समीक्षा गर्ने काठमाडौं । नेपाली का‌ग्रेसको शेखर कोइराला पक्षले सोमबार सुरु हुने पार्टीको केन्द्रीय समिति बैठकमा सरकारको काम, कारबाहीबारे गम्भीर समीक्षा गर्नुपर्ने बताएको छ । आइतबार काठमाडौंको विशालनगरमा बसेको बैठकले केन्द्रीय समिति बैठकमा सरकारको कार्यशैलीको गम्भीर समीक्षा हुनुपर्ने निष्कर्ष निकालेको हो । यस्तै कोइराला पक्षधरले केन्द्रीय सदस्यहरूले भातृ संस्थाको कार्यसमिति पूर्णताको माग गर्दै विरोध प्रर्दशन गर्ने निर्णय समेत गरेको छ । नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघलगायत भातृ संस्थाका शिखर पक्षीय नेता तथा कार्यकर्ताले विरोध प्रदर्शनको तयारी गरेका हुन् । कांग्रेस केन्द्रीय समितिको बैठक सोमबार दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ । उक्त बैठकको समयमा पार्टी कार्यालय बाहिर शेखर पक्षका विद्यार्थी, युवा लगायतले प्रदर्शनको तयारी गरेका हुन् । बैठकले भ्रष्टाचारको आरोप लागेको निष्कर्ष निकाल्दै पार्टी नेतृत्वको सरकारको काम, कारबाहीबारे केन्द्रीय समिति बैठकमा समीक्षा गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
गृहमन्त्रीज्यूले भ्रूण हत्या गर्नुभयोः शेरबहादुर तामाङ काठमाडौं । प्रमुख प्रतितपक्षी दल एमाले सांसद शेरबहादुर तामाङले नागरिकता विधेयक फिर्ता लिने सरकारी निर्णयलाई भ्रूण हत्यासँग तुलना गरेका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सरकारको तर्फबाट गृहमन्त्री बालकृष्ण खाणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५” लाई फिर्ता लिने प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्तावमाथिको छलफलमा सहभागी हुँदै सांसद तामाङले गृहमन्त्री खाणको उक्त प्रस्तावलाई भ्रूण हत्यासँग तुलना गरेका हुन् । ‘भर्खरै अहिले फौजदारी घटना घट्यो कि जस्तो लाग्यो । मन्त्रीज्यूले नागरिकता विधेयक फिर्ता लिनुभयो, नजन्मिँदै भ्रूण हत्या भयो,’ पूर्वमन्त्री तामाङले भने, ‘नागरिकता कानुनको हत्या भयो, गर्भपतन भएको छ भर्खर । त्यो नगरियोस्, जन्मिन दिउँ ।’ नागरिकता विधेयकलाई फिर्ता नलिन सरकारसँग आग्रह गरेका उनले तीन वर्ष संसदीय समितिमा छलफल गरेर दलीय सहमति कायम भएको विधेयक फिर्र्ता लिन नहुनेमा जोड दिए । विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्ने अवस्थामा फिर्ता लिन नहुने भन्दै उनले नमिलेका कुनै विषयमा पछि अर्को विधेयक ल्याएर संशोधन गर्न सकिने धारणा राखे । अन्तिम अवस्थामा विधेयक फिर्ता लिन नहुने भन्दै सांसद तामाङले अब फेरि ल्याउँदा शून्यबाट सुरु गर्नुपर्ने अवस्थाबारे जानकारी गराए ।
घरमा बेम्बो प्लान्ट रोप्दै हुनुहुन्छ ? यसरी बनाउनुहोस् माटो काठमाडौं । गुड लक प्लान्ट भनेर चिनिने बेम्बो प्लान्टलाई सुख, शान्ति र समृद्धिको प्रतीक मानिन्छ। यही कारणले गर्दा मानिसहरू यसलाई घरमा राख्न रुचाउँछन्। बजारमा सजिलै पाइने भए पनि यसलाई जोगाइ राख्न भने सजिलो छैन । वास्तवमा, यो रोप्नको लागि माटोलाई राम्ररी तयार गर्न धेरै महत्त्वपूर्ण हुन्छ। यदि तपाईंले माटोलाई राम्ररी तयार गर्नुभएन भने, तपाईंको बिरुवाको वृद्धि रोकिनेछ र यो चाँडै सुक्नेछ। यस्तो अवस्थामा यदि तपाई घरमा बाँसको बिरुवा रोप्ने सोचमा हुनुहुन्छ भने केहि कुराहरु अवश्य ध्यानमा राख्नुहोस् । पानी वा माटो वास्तवमा बेम्बो प्लान्ट पानी वा माटोमा सजिलै उब्जाउन सकिन्छ। त्यसैले पहिले नै सुनिश्चित गर्नुहोस् कि तपाइँ यसलाई के राख्न चाहनुहुन्छ। सही माटो प्रयोग गर्नुहोस्– यदि तपाईंले नर्सरीबाट लक्की बेम्बोको लागि विशेष माटो किन्नु भयो भने, यो बिरुवाको लागि राम्रो हुन्छ। यसमा उचित मल र उर्वर माटो प्रयोग गर्न आवश्यक छ। यसरी माटो बनाउनुहोस्– तपाईंले माटोको पीएच स्तरको ख्याल राख्नुपर्छ र साथै माटोमा पोषक तत्वहरू थपिराख्नुहोस्। उदाहरणका लागि, सहि मात्रामा मल, पीट, नाइट्राइज्ड भुरा वा छाल चिप्स आदि। यी सबै माटोमा आर्द्रता कायम राख्न, माटोलाई अम्लीय बनाउन र बिरुवाहरूलाई पोषण दिन आवश्यक छ। बाँसको बिरुवा कसरी रोप्ने– पहिले बाँसको बीउ वा कटिङ लिनुहोस् र प्वाल भएको भाँडो लिनुहोस्। अब भाँडोमा आधा कोको–पिट र आधा भर्मी कम्पोस्ट राम्ररी मिसाएर भर्नुहोस्। यसपछि, एउटा भाँडोमा लक्की बेम्बोको कटिङ रोप्नुहोस् र त्यसपछि त्यसमा सही मात्रामा पानी हाल्नुहोस्। लक्की बेम्बोको गमला तयार भयो । यसरी तपाईले आफ्नो बगैंचामा लक्की बेम्बोको बोटलाई सजिलै रोप्न सक्नुहुन्छ। बेम्बोलाई कसरी स्याहार गर्ने ?  बेम्बोलाई यदि पानीमा रोप्नु भएको छ भने बिरुवाबाट नमीठो गन्ध आउन थाल्यो भने बिरुवामा ब्याक्टेरिया विकसित भएको हुनसक्छ । पहेंलो भएका पातहरू हटाइदिनुपर्छ । घामको प्रत्यक्ष सम्पर्कबाट टाढै राख्नुपर्छ । तर, बिरुवा बढ्नका लागि भने पर्याप्त उज्यालो चाहिन्छ । उज्यालो कम भएमा धेरै बढ्न पाउँदैन । बेम्बोलाई धेरै पानीको आवश्यकता पर्दैन । सातामा एकपटक दिए पुग्छ । पानीमा बिरुवा राख्दा जरासम्म डुब्ने गरी पानी राख्नुपर्छ । यसलाई पूरै सुख्खा हुन दिनुहुँदैन । जरा भिज्ने पानी हुनुपर्छ । साथै पानी धेरै हुनुहुँदैन । माटोमा रोप्ने हो भने ओसिलो माटो हुनुपर्छ, तर पानी बढी हुनुहुँदैन । क्लोरिन भएको पानी राख्नुहुँदैन । धाराको पानी राख्नुहुँदैन । साथै लेउ जमेको पानी हुनुहुँदैन । जारको पानी राख्न सकिन्छ । बिरुवा स्वस्थ राख्न हरेक ७–१० दिनमा पानी परिवर्तन गरिदिनुपर्छ ।
तत्काल नयाँ अर्थमन्त्री प्रस्ताव गरिँदैनः वर्षमान पुन काठमाडौं । नेकपा(माओवादी केन्द्र)ले तत्कालै अरु कुनै पनि नेतालाई अर्थमन्त्रीमा प्रस्ताव नगर्ने संकेत गरेको छ । बजेट निर्माणको अघिल्लो दिन अर्थात् जेठ १४ गते मध्यरात अनाधिकृत व्यक्तिको प्रवेश गरेको भनिएको विषयमा छानबिनका लागि प्रतिनिधिसभाले आज मात्रै विशेष संसदीय समिति गठन गरेको छ । सो समिति गठन लगत्तै प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएको घोषणा गरे । संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै माओवादी नेता वर्षमान पुनले तत्कालै कुनै पनि नेतालाई अर्थमन्त्रीमा नपठाइने बताए । उनले छानबिन नसकिँदासम्म नयाँ अर्थमन्त्रीको प्रस्ताव नगरिने उल्लेख गरे । प्रतिनिधिसभाले आज मात्रै ११ सदस्यीय छानबिन समिति गठन गरेको छ । समितिलाई १० दिनको समयावधी दिइएको छ । छानबिनपछि निर्दोष देखिएपछि नेता शर्माले नै पुनः अर्थमन्त्रीको जिम्मेवारी सम्हाल्ने समेत नेता पुनको संकेत थियो । प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)ले प्रश्न उठाउनु र दोषी करार हुनु फरक विषय भए पनि त्यसलाई एउटै हो भन्ने ढङ्गले प्रचार गरेकामा समेत नेता पुनले आपत्ति जनाए । उनले छानबिन अघि नै शर्मामाथि कारवाहीको माग गरेकोमा समेत आपत्ति जनाए ।
आगामी आइतबार सार्वजनिक बिदा दिने सरकारको घोषणा काठमाडौं । सरकारले आगामी आइतबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ । इस्लाम धर्मालम्बीहरुको पर्व बकर ईद(ईद उल बकाह)का अवसरमा बिदा दिने व्यवस्था अनुसार आगामी आइतबादर बकर ईद पर्ने भएकाले मुस्लिम आयोगको सिफारिसमा बिदा दिने घोषणा गरेको हो ।
काठमाडौंस्थित भारतीय दूतावासमा गोली चल्यो, एसएलआरको गोली लागेर सुरक्षाकर्मीको मृत्यु काठमाडौं । काठमाडौंस्थित भारतीय दूतावासमा गोली चलेको छ । लैनचौरस्थित दूतावासको परिसरभित्र गोली चलेको हो । गोली एसएलआर राइफलबाट चलेको बताइएको छ । त्यहाँ तैनाथ भारतीय सुरक्षाकर्मीले आफूले बोकेको एसएलआर राइफलबाट आफैंलाई गोली हानेको स्रोतले जनाएको छ । गोली लागेर ती भारतीय सुरक्षाकर्मीको मृत्यु भएको छ । दूतावासको सुरक्षामा खटिएका ती सुरक्षाकर्मीले आफैँले बोकेको बन्दुकबाट आफैँलाई गोली प्रहार गरेर आत्महत्या गरेको बताइएको छ ।स्रोतका अनुसार उनको शव अहिले पोस्टमार्टमको लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको छ । हेर्नुहोस् भिडियो: 
फूलहरूलाई के हिउँद के बर्खा (फोटोफिचर) निरन्तरको झरिका कारण बर्खायाममा फुल विरलै देखिन्छ । तर, काठमाडौंका केही बगैँचा भने सिजनल फूल फूलहरुले सधैँ सुन्दर देखिन्छन् ।
अमेरिकी डलरको भाउमा उछाल, आज फेरि नयाँ उचाइमा काठमाडौं। अमेरिकी डलरको भाउ हालसम्मकै महंगो भएको छ। डलरको भाउ बढेर अर्को नयाँ रेकर्ड कायम गरेसंगै नेपाली मुद्राको भाउ थप कमजोर बनेको छ। नेपाल राष्ट्र बैंकले विदेशी मुद्राहरुका लागि बिहिबार कायम गरेको विनिमय दरअनुसार प्रतिडलर खरिददर १२६ रुपैयाँ ०५ पैसा र बिक्रीदर १२६ रुपैयाँ ६५ पैसा कायम भएको छ। पछिल्ला दिनमा नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ लगातार बढेर हरेक दिन नयाँ उचाइमा पुगिरहेको छ ।बुधबार अमेरिकी डलर एकको खरिद दर अधिकतम १२५ रुपैयाँ ७४ पैसा र बिक्री दर १२६ रुपैयाँ ३४ पैसा कायम गरेको थियो। रुस र युक्रेन युद्धको असरको कारण भारतीय मुद्रा कमजोर भइरहेको छ। भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्छ । नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहेकाले पनि केही समयता डलरको तुलनामा भारु खस्किँदा नेपाली रुपैयाँको मूल्यसमेत कमजोर हुँदै गएको छ ।
१४ वर्षीय किशोरीलाई यौन गतिविधिमा संलग्न गराएको आरोपमा ६ जना पक्राउ काठमाडौं । ताप्लेजुङमा एक १४ वर्षीय किशोरीलाई केही होटल सञ्चालक यौन गतिविधिमा संलग्न गराएको आरोपमा ६ जना पक्राउ परेका छन् । किशोरीलाई होटल सञ्चालकहरु मिलेर पालैपालो यौनजन्य गतिविधिमा संलग्न गराएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । प्रहरीले अनुसन्धानको क्रममा मंगलबार र बुधबार गरी तीन जना सञ्चालक र तीन जना ग्राहकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । पक्राउ परेकाहरुविरुद्ध मुद्दा दर्ता प्रक्रिया पनि सुरु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डीएसपी कैलाश राईले बताए । उनका अनुसार परेका मध्येका तीन जनालाई जबरजस्ती करणी (बलात्कार), दुई जनालाई शरीर बन्धक तथा मानव ओसारपसार र एक जनालाई मतियारको रुपमा मुद्धा दायर गरिएको छ । राईका अनुसार बालिकाले प्रहरीलाई दिएको सुरुवाती बयानअनुसार सेवाग्राहीबाट लिएको आधा रकम होटल सञ्चालकले राख्ने र आधा उनलाई दिने गरेको थियो । सामान्यतया एक ग्राहकबाट दुई हजारसम्म लिने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । पक्राउ पर्नेमा होटलका सेवाग्राही ६२ वर्षीय पुरुष पनि रहेको प्रहरीले जनाएको छ । ती किशोरीलाई अन्य होटल सञ्चालकहरुले पनि यौनजन्य गतिविधिमा संलग्न गराएको उजुरी परेका कारण पक्राउ परेका व्यक्तिहरुको नाम सार्वजनिक नगरिएको प्रहरीले जनाएको छ ।
त्रिभुवन विमानस्थल अध्यागमनको सर्भर डाउन  हुँदा उडानमा ढिलाई, यात्रुलाई सास्ती काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन विभागको सर्भरमा समस्या आएपछि अन्तर्राष्ट्रियतर्फका उडान प्रभावित भएका छन् । बुधबार दिउँसो अध्यागमनको सर्भर डाउन भएपछि नेपालबाट भारतलगायत तेस्रो मुलुक जाने विदेशी तथा स्वदेशी यात्रु प्रस्थान कक्षमा दुई घण्टादेखि यात्रु अलपत्र परेका छन् । विमानस्थलको अध्यागमन कार्यालयका अनुसार विभागको सर्भरमा पटक पटक समस्या देखिँदै आएको छ । करिब दुई घण्टापछि अहिले अध्यागमनको काम सुचारु भएको छ ।
सप्तकोसीमा पानीको बहाव बढ्यो राजविराज । सप्तरी र सुनसरीको सिमानामा पर्ने सप्तकोसी नदीमा पानीको बहाव ह्वात्तै बढेको छ । गए रातिदेखि पूर्वी पहाडी तथा तराई क्षेत्रमा भारी वर्षाका कारण सप्तकोसीमा पानीको बहाव बढेको हो । कोसी ब्यारेजका अनुसार आज सप्तकोसीमा पानीको बहाव एक लाख २६ हजार ५०५ क्युसेक प्रतिसेकेण्ड रहेको छ । कोसी ब्यारेजका ५६ ढोकामध्ये अहिले १६ ढोका खोलिएका छन् । पानीको बहाव बढ्दो क्रममा रहे पनि तटबन्ध र स्पर सुरक्षित रहेको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए। सोमबारसम्म सामान्य अवस्थामा रहेको नदीको बहाव पछिल्लो २४ घण्टामा बढ्दो क्रममा छ । पूर्वी भेगमा जारी वर्षाका कारण कोसीको जलस्तर बढ्दो क्रममा छ । यसैबीच कोसीको तटीय क्षेत्रका बासिन्दालाई स्थानीय प्रशासन कार्यालयले सतर्कता अपनाउन आग्रह गरेको छ । बहाव बढेसँगै नदीमा डुङ्गा चलाउन रोक लगाइएको छ । माछा मार्न तथा बाढीले बगाएर ल्याएका दाउरा नदीबाट झिक्नसमेत प्रशासनले प्रतिबन्ध लगाएको छ ।