content
stringlengths
20
64.1k
हतुवागढी गाउँपालिकाले गर्‍यो विपन्न परिवारलाई जस्ताको छानो सहयोग भोजपुर। भोजपुरको हतुवागढी गाउँपालिकाले अतिविपन्न एक सय छ परिवारलाई जस्ता पाताको छानो राख्न सहयोग गरेको छ। आर्थिक अवस्था कमजोर रहेका विपन्न परिवारको पहिचान गरेर गाउँपालिकाले फुसको छानो हटाउन सहयोग गरेको हो। गाउँपालिकाले गत र यो आर्थिक वर्षमा रु ७० लाख बजेट विनियोजन गरेर जस्तापाताको छानो फेरिदिएको छ। गाउँपालिकाले आफ्नै बजेटमा विपन्न आवास निर्माण कार्यक्रम लागू गरेर गत आर्थिक वर्षमा ४० र यो आर्थिक वर्षमा ६६ गरी एक सय छ परिवारलाई जस्तापाताको छानो वितरण गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले जानकारी दिए। प्रतिपरिवार परिवारलाई रु ७५ हजार बराबरको सहयोग गरिएको प्रशासकीय अधिकृत निरौलाको भनाइ छ। कतिपय परिवारको घरसमेत निर्माण गरिदिएको उनले जानकारी दिए। “यहाँका विपन्न परिवारको फुसको छानो हटाएका छौँ”, प्रशासकीय अधिकृत निरौलाले भने, “आर्थिक अवस्था कमजोर भएका परिवारलाई राहत दिने लक्ष्यले उनीहरुलाई जस्ताको छानो दिएका हौँ । दुई आर्थिक वर्षमा यो कार्यक्रममा हामीले रु ७० लाख खर्च गरेका छौँ । छानो फेरिदिएपछि स्थानीयलाई सहजता भएको अवस्था छ।” गाउँपालिकाले वडा नं १ र २ का आठ÷आठ घर, वडा नं ३ मा पाँच घर, वडा नं ४ मा १२ घर, वडा नं ५ मा आठ घर, वडा नं ६ मा नौ घर, वडा नं ७ मा छ घरलाई जस्ताको छानो वितरण गरेको हो । त्यस्तै वडा नं ८ मा पाँच घर र वडा नं ९ मा आठ घरलाई फुसको छानो हटाएर जस्तापाताको छानो वितरण गरेको हो। वर्षौंदेखि फुसको चुहिने छानोमा बस्दै आएका स्थानीय जस्ताको छानो पाएपछि खुसी भएका छन्। बर्षातको समयमा चुहिने छानोमा समस्या हुने भए पनि गाउँपालिकाले जस्ताको छानो दिएपछि सहज भएको हतुवागढी–१ की स्थानीय चिनिमाया खड्काले बताए। “फुसको छानो हुँदा धेरै समस्या थियो”, उनले भने, “म एकल महिला भएकाले छानो फेर्ने क्षमता थिएन । पानी परेपछि चुहिने ठाउँमा गाग्री, खड्कुला राखेर बस्थे । छानो पाएपछि मलाई धेरै सहज भएको छ।” आर्थिक अवस्था कमजोर भएका कारण छानो फेर्न नसक्ने परिवारको पहिचान गरेर गाउँपालिकाले फुसको छानो हटाएको हो। गाउँपालिकाले विपन्न आवास निर्माण कार्यक्रमअन्तर्गत नौवटै वडाका नागरिकलाई जस्ताको छानो दिएको छ। केन्द्र सरकारबाट फुसको छानो हटाउने कार्यक्रम निरन्तर नआएपछि गाउँपालिकाले आफँै बजेट विनियोजन गरेर विपन्न परिवारको फुसको छानो हटाएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताउनुभयो । यो आव र आगामी वर्षको लागिसमेत केन्द्र सरकारबाट यो शीर्षकमा बजेट नआएको अध्यक्ष राईको भनाइ छ यो वर्ष वित्तीय समानीकरणमा आउने बजेट घटेको कारण फुसको छानो हटाउने कार्यक्रमलाई निरन्तरता दिन नसकेको उहाँले बताउनुभयो । आगामी दिनमा यो कार्यक्रमलाई निरन्तरता दिइने अध्यक्ष राईको भनाइ छ । “हामीले यहाँका विपन्न परिवारको फुसको छानो हटाउने कार्यक्रम सञ्चालन गरिरहेका छौँ”, अध्यक्ष राईले भने, “फुसको छानो हटाउने केन्द्र सरकारको पनि कार्यक्रम छ तर हाम्रो गाउँपालिकामा यो बजेट निरन्तररुपमा आएको छैन । बजेटमा निरन्तरता नभएपछि गाउँपालिकाले नै फुसको छानो हटाएका छौँ।” केन्द्र सरकारबाट आउने फुसको छानो हटाउने शीर्षकको बजेट यो आव र आगामी आवमा समेत शून्य रहेको अध्यक्ष राईले बताए। केन्द्रको बजेटले यो गाउँपालिकालाई प्राथमिकतामा नराखेपछि आफैंले कार्यक्रम ल्याएर जनताको फुसको छानो हटाएको उनको भनाइ छ । “हाम्रो गाउँपालिकामा फुसको छानो हटाउने केन्द्र सरकारको कार्यक्रमको बजेट नआएको अवस्था छ”, उनले भने, “मैले धेरै ठाउँमा यो विषय उठाएको पनि छु। तर पनि कार्यान्वयन भएको अवस्था छैन । आगामी वर्षलाई फुसको छानोको लागि हाम्रो गाउँपालिकामा बजेट आएको छैन । केन्द्रबाट बजेट नआए पनि यो कार्यक्रमलाई निरन्तरता दिने हाम्रो लक्ष्य छ । वित्तीय समानीकरणको बजेट घटेको कारण यो वर्ष निरन्तरता दिन सकिएन ।” बर्सातको समयमा कष्टर जीवन बिताउँदै आएका स्थानीयलाई जस्ताको छानो फेरिदिएपछि सहजता थपिएको हतुवागढी–१ का वडाध्यक्ष कुमार विष्टले बताए। वडाका अतिविपन्न, एकल महिला, दलित आर्थिक रुपमा कमजोर रहेको परिवारलाई प्राथमिकतामा राखेर छानो वितरण गरिएको उनको भनाइ छ । स्थानीय तह सञ्चालनमा आएपश्चात् विभिन्न आर्थिक वर्षमा सुरक्षित आवास कार्यक्रमअन्तर्गत दुई सय ८९ घर, जनता आवास कार्यक्रमअन्तर्गत दश र गाउँपालिकाको विपन्न आवास निर्माण कार्यक्रमअन्तर्गत एक सय छ गरी हालसम्म चार सय पाँच परिवारले जस्तापाताको छानो पाएको गाउँपालिकाले जनाएको छ।
पाटनमा चट्याङबाट ५० भेडाबाख्रा मरे जुम्ला। जुम्लाको पातारासी गाउँपालिका–२ स्थित दुगाडा पाटनमा चट्याङ लागेर ५० भेडाबाख्रा मरेका छन् । यही असार २८ गते दिउँसो २ बजेतिर परेको चट्याङले ती भेडाबाख्रा मरेका छन् भने ७० हराएको पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिइन्। चट्याङले ४२ बाख्रा र आठ भेडा मरेको पातारासी गाउँपालिका भेटेरीनरी शाखाका प्रमुख गगन केसीले बताए। सो गाउँपालिकाका स्थानीयवासी कृष्ण ऐडी, र मिमबहादुर बोहोराका भेडाबाख्रा चट्याङबाट मरेका हुन्। पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका अनुसार जिल्लाकै सबैभन्दा बढी भेडापालन हुने ठाउँ पातारासी हो। पाटन र खर्कमा व्यवस्थित भेडीगोठ नहुँदा हरेक वर्ष चट्याङबाट भेडाबाख्रामा ठूलो क्षति गर्ने गरेको कार्यालयले जनाएको छ। भेडाबाख्रा चट्याङबाट मरेपछि घर खर्च लगाउनमा समस्या भएको उनीहरुले बताए। किसान बोहोराले भने, “यहीँ पेशाबाट आम्दानीको माध्यम बनेको थियो। घर खर्चदेखि बच्चाको पढाइ खर्च सहजरुपले धानेको थियो।” स्थानीय सरकारले राहतको लागि माथिल्लो सरकारी निकायमा पहल गरिदिन अनुरोध गरेको भेडापालक किसान ऐडीले बताए। उनले भने, “चट्याङबाट भेडा मरेको जानकारी गराएका छौँ। राहत र क्षतिपूर्तिका लागि सम्बन्धित निकायलाई सहयोगको अपिलसमेत गरेका छौँ ।” स्थानीय सरकारबाट हुने सहयोग गरिने पातारासी गाउँपालिकाका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिइन्।
कामपाको बजेट पारित काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०र८१ का लागि नगरसभामा पेश गरेको बजेट आज सर्वसम्मतले पारित भएको छ । कामपा उपप्रमुख सुनिता डङ्गोलले यही असार १० गते आगामी आवका लागि रु २५ अर्ब ५४ करोड ७८ लाख २० हजारको बजेट नगरसभामा प्रस्तुत गरेकी थिइन् । आज बसेको नगरसभाको पाँचौँ बैठकमा कामपा प्रमुख बालेन्द्र शाहले बजेटलाई निर्णयार्थ पेश गर्दा पारित भएको हो । महानगरको १३औँ नगरसभाको पहिलो बैठक असार ६ गते बसेको थियो । महानगरपालिकाले ल्याएको रु २५ अर्ब ५४ करोड ७८ लाख २० हजार बजेटमा चालुतर्फ रु आठ अर्ब ६१ करोड ५३ लाख २८ हजार र पूँजीगततर्फ रु १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार विनियोजन गरिएको छ । यही असार २१ गते बजेट पारित गर्न बोलाएको बैठकमा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले पर्याप्त छलफल नभएको र एकलौटी ढङ्गले बजेट विनियोजन गरेको भन्दै विरोध गरेपछि २६ गतेसम्म सारिएको थियो । असार २६ देखि सुरु भएको बजेटमाथिको छलफल आज सकाएर नगरसभाबाट पारित भएको हो । चालु अवाको भन्दा आगामी आवका लागि कामपाले रु करिब १४ करोडले बढी बजेट ल्याएको छ । आगामी आवमा बजेटमा स्वास्थ्य, शिक्षा र पूर्वाधारलाई प्राथमिकताका साथ विनियोजन गरिएको छ । पूर्वाधारमा सबैभन्दा धेरै रु सात अर्ब ३४ करोड बजेट विनियोजन गरिएको छ । शिक्षामा रु एक अर्श ३२ करोड र स्वास्थ्यमा रु ९२ करोड ६६ लाख बजेट विनियोजन गरिएको छ । चालु आवमा जस्तै भौतिक पूर्वाधार विकास, फोहरमैला व्यवस्थापन, लैङ्गिक समानता र सामाजिक समावेशीकरण, भाषा, संस्कृति तथा सम्पदा संरक्षण र प्रवर्द्धन जस्ता विषयले बजेटमा स्थान पाएका छन् । आगामी आर्थिक वर्षका लागि कामपालाई सङ्घीय सरकारबाट रु दुई अर्ब १४ करोड ३१ लाख प्राप्त भएको छ । महानगर गौरवको योजनाका लागि रु तीन अर्ब ८० करोड विनियोजन गरिएको छ । महानगर स्वर्णिम योजनाअन्तर्गत २५ विषयगत क्षेत्रका योजनाका लागि रु दुई अर्ब विनियोजन गरिएको उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिइन् । वडाबाट प्राप्त योजनालाई प्राथमिकता प्राप्त योजनामा राखी त्यसका लागि रु एक अर्ब ७६ करोड विनियोजन गरिएको छ ।
नेपाल-भारत जोड्ने झोलुङ्गे पुलको लठ्ठा चुडिँदा आवतजावत बन्द खलङ्गा। दार्चुलाको महाकाली नगरपालिका–९ दत्तु र भारतको बालुवाकोट जोड्ने झोलुङ्गे पुलको लठ्ठा चुडिँदा आवतजावत नगर्न जिल्ला प्रशासन कार्यालय दार्चुलाले अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले आज एक सूचना जारी गर्दै प्राविधिक जाँचपछि मात्रै पुलमाथि आवतजावत गर्न आग्रह गरेको छ । “झोलुङ्गे पुलको भारततर्फ लठ्ठा भाँचिएको छ, पुलको मर्मतपछि मात्र आवागमन गर्न अनुरोध गरेका छौँ”, सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपसिंह धामीले भने । यो नाकाबाट दैनिकरूपमा सयौँ स्थानीय आवातजावत गर्ने गर्दछन् । जिल्लाको महाकाली नगरपालिका, मालिकार्जुन, लेकम गाउँपालिकाका र शैल्यशिखर नगरपालिकाका अधिकांश बासिन्दा दैनिक उपभोग्य सामान किनमेलका लागि झोलुङ्गे पुलबाट भारतको बलुवाकोट जाने गरेका छन् । पुलमाथि आवतजावत बन्द भएपछि स्थानीयवासीलाई दैनिक उपभोग्य समान किन्न समस्या परेको स्थानीय नारद विष्टले जानकारी दिए
हराएको दुई सातापछि जङ्गलमा शव, मृतकको भिसेरा जाँच हुने भक्तपुर । घरबाट हराएको दुई सातापछि सूर्यविनायक नगरपालिका–७ गुण्डू निवासी ३७ वर्षीया माया नगरकोटीको शव प्रहरीले सूर्यविनायक जङ्गलमा फेला पारेको छ । यही असार १३ गते बुधबार बिहान साढे ८ बजे माया घरबाट हराएकी भन्दै परिवारले प्रहरीमा जाहेरी दिएपछि प्रहरीले तालिमप्राप्त कुकुरसहित विभिन्न निकायमा प्रहरीको टोली परिचालन गरी खोजीकार्य गर्ने क्रममा गुण्डू अस्थायी प्रहरी पोष्टबाट खटिएका प्रहरीले जङ्गलमा शव फेला पारेको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिए । प्रहरीले नगरकोटीको खोजीका क्रममा अन्तिम पटक सूर्यविनायक गणेश मन्दिरबाट पानीट्याङ्की हुँदै मन्थलीको बाटो जाँदै गरेको सिसिटिभीबाट देखिएपछि प्रहरीले जङ्गलमा खोजी केन्द्रीत गरेको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीयवासीलगायत चार वटा तालिमप्राप्त कुकुरसहित प्रयोग गरी प्रहरीले खोजी गरेको उनले जानकारी दिए । प्रहरी उपरीक्षक केसीले शवलाई पोष्टमार्टमका लागि पठाएको जानकारी दिँदै मृतकका भिसेरा जाँचसमेत गर्न पठाएको बताए । त्यसको रिपोर्ट आएपछि मात्रै के र कसरी मृत्यु भयो भन्ने जानकारी आउने उनले जानकारी दिए ।
सप्तरीमा गाडी पल्टिँदा पाँच जना घाइते जनकपुरधाम । सप्तरीमा नेकपा एमालेका नेता सवार गाडी दुर्घटनामा परेको छ । गाडी पल्टेपछि पाँच नेता घाइते भएका हुन् । प्रहरीका अनुसार एमाले जिल्ला कमिटी सदस्य किरण पन्थ, हरिहर बस्नेत, भुवन केसी, सुनिता कटुवाल र बच्चुलाल चौधरी कार दुर्घटनामा घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि राजविराज लगिएको छ । एमाले जिल्ला कमिटीको बैठकका लागि उनीहरू राजविराजतर्फ गइरहेको बेला नम्वर नखुलेको कार दुर्घटनामा परेको बताइएको छ ।
भानु जयन्ती : वरिष्ठ साहित्यकारद्वयको रथारोहण काठमाडौं । नेपाली भाषा र साहित्यमा लामो समयदेखि साधना गरी अतुलनीय योगदान पु¥याएवापत प्राध्यापकद्वय डा दयाराम श्रेष्ठ र डा राजेन्द्र विमललाई रथारोहण गरी सम्मान गरिएको छ । दुई सय १० औँ भानु जयन्तीका अवसरमा भानु प्रतिष्ठान र नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आज यहाँ आयोजित समारोहमा उनीहरूलाई रथारोहण गरी नगर परिक्रमा गरिएको हो । डा श्रेष्ठ नेपाली कथा लेखनको समालोचनामा र डा विमल कथा लेखन र नेपाली राष्ट्रियता प्रवर्द्धनमा ख्यातिप्राप्त छन् । प्रत्येक वर्ष भानु जयन्तीका अवसरमा नेपाली भाषा र साहित्यका क्षेत्रमा विशिष्ट योगदान दिने ज्येष्ठ साहित्यकारलाई बग्गीमा राखेर नगर परिक्रमा गराउने चलन रही आएको छ । यसअघि युगकवि सिद्धिचरण श्रेष्ठ, राष्ट्रकवि माधवप्रसाद घिमिरे र समालोचक डा बासुदेव त्रिपाठीलगायतलाई रथारोहण गराइएको थियो ।
कर्णाली प्रदेश अस्पतालमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण सुर्खेत । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा दोस्रो पटक मिर्गौलाको सफल प्रत्यारोपण गरिएको छ । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र प्रदेश अस्पतालको संयुक्त प्रयासमा बिहीबार साँझ रोल्पाको रोल्पा नगरपालिका–२ निवासी ३५ वर्षीय पवनकुमार आचार्यको दोस्रो पटक मिर्गौलाको सफल प्रत्यारोपण गरिएको हो । उनलाई ५६ वर्षीय आमा देवाकुमारी आचार्यले छोरालाई मिर्गौला दान गरेकी थिइन् । प्रत्यारोपण सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक प्राडा पुकारचन्द्र श्रेष्ठ र प्रदेश अस्पतालका निर्देशक प्राडा डम्बर खड्काको टोलीले यही असार २८ गते प्रत्यारोपण कार्य सम्पन्न गरेको थियो । केन्द्र र अस्पतालबीच मिर्गौला प्रत्यारोपणका लागि २०७८ साल चैत १० गते सम्झौता भई प्रत्यारोपण सेवा सुरु गर्ने समझदारी भएको निर्देशक खड्काले बताए । प्रदेश अस्पतालमा नियमित प्रत्यारोपण सेवा सञ्चालन गर्ने योजना अस्पतालमा कार्यरत चिकित्सक, नर्स तथा प्राविधिकलाई क्षमता वृद्धि गरी आत्मनिर्भर बनाउन केहीलाई केन्द्रमा थप तालिमका लागि पठाएको र केहीलाई पठाउने योजना बनाइएको अस्पतालका निर्देशक खड्काले जानकारी दिए । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री खड्कबहादुर पोखरेलले अब कर्णालीका जनताले मिर्गौला फेल भएर ज्यान गुमाउनुपर्ने समस्या कम हुने बताए । उनले प्रदेश अस्पतालले नमूना काम गरेको जनाउँदै प्रदेश सरकारले पनि अस्पतालको विकासका निम्ति काम गर्दै आएको बताए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव देवकुमारी गुरागाईंले पश्चिम नेपालको सरकारी अस्पताल सुर्खेतका लागि प्राथमिकतामा राखेर काम गरिएको र आगामी दिनमा पनि आवश्यक हुने बताए । यसभन्दा पहिले २१ माघ २०७९ मा मृगौला प्रत्यारोपण गरिएको थियो । त्यति बेला पनि नवलपरासी बर्दघाट नगरपालिका–४ निवासी ४१ वर्षीय आमाले २२ वर्षीय छोरालाई मिर्गौला दिएकी थिइन् ।
लुम्बिनी प्रदेशसभा बैठक शनिबारका लागि बोलाइयो रूपन्देही । लुम्बिनी प्रदेशसभा बैठक शनिबार दिउँसो १ बजे बस्नेगरी आह्वान गरिएको छ। असार २० गते राति लुम्बिनी प्रदेशको आगामी वर्षको बजेट प्रदेशसभाबाट पारित भएसँगै अर्को सूचना जारी नभएसम्मका लागि प्रदेशसभा बैठक स्थगित भएको हो। प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले सूचना जारी गर्दै लुम्बिनी प्रदेशसभाको दोस्रो अधिवेशनको उन्नाइसौं बैठक असार ३० गते शनिबार दिउँसो १ बजेका लागि सभामुखको निर्देशनअनुसार आह्वान गरिएको जनाएका छन्। प्रदेश निजामती सेवाको गठन, संचालन र देहायका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभाका पेस गर्ने, स्वास्थ्य संस्था स्थापना, संचालन तथा नवीकरण र स्तरोन्नती ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल हुने र एक विधेयक फिर्ता हुने सम्भावित कार्यसूची रहेको सचिव पुनले बताए। लुम्बिनी प्रदेश सरकारले यसअघि लुम्बिनी प्रशिक्षण प्रतिष्ठानको स्थापना, संचालन तथा व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेस गरेको थियो। प्रदेशसभामा छलफल नभई रोकिएको उक्त विधेयक शनिबारको प्रदेशसभा बैठकबाट फिर्ता गर्ने तयारी थालिएको छ।
मनमोहनमा कार्यरत एक कर्मचारी मृत फेला काठमाडौं । महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर सेन्टरको फार्मेसीमा कार्यरत एक कर्मचारी मृत फेला परेका छन्। अर्घाखाँचीका ३६ वर्षीय अमृत पोखरेल फार्मेसी स्टोरमा झुन्डिएको अवस्थामा भेटिएको काठमाडौं प्रहरी वृत्त महाराजगन्जले जनाएको छ। शुक्रबार बिहान नोटसहित फार्मेसी स्टोरमा उनको शव भेटिएको महाराजगन्ज प्रहरीले जनाएको हो। उनी पहिले फार्मेसीमा इन्चार्जका रूपमा कार्यरत रहेको र अहिले प्रशासनमा तानिएको अस्पताल प्रशासनले जनाएको छ। नोटमा उनले डा. भगवान कोइराला, सेन्टरका निर्देशक र अन्य सहकर्मीसँग माफी मागेका छन्। त्यस्तै नोटमा परिवारका सदस्यका नाममा लभ यू, लभ यू लेखिएको पनि प्रहरीले जनाएको छ।
वैदेशिक रोजगारीमा जाने श्रमिकलाई विमानस्थलबाट बिना कारण फर्काउने गरेको भन्दै व्यवसायी संघको आपत्ती काठमाडौैं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई बिना कारण अध्यागमन विभाग, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले फर्काउने काम गरेको भन्दै आपत्ती जनाएको छ । संघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै वैदेशिक रोजगारीमा जानका लागि आवश्यक पर्ने कागजात पेस गर्दा पनि अध्यागमन कार्यालयले विना कारण श्रमिकहरुलाई बिमानस्थलबाटै फर्काउने काम गरेको भन्दै आपत्ती जनाएको हो । अध्यागमनका कर्मचारीले विगत केहि दिनदेखि कानुन विपरितको गलत सूचना दिने, अनावश्यक दुःख दिई बैदेशीक रोजगारीबाट बञ्चित गराउने उदेश्यबाट प्रेरित भई हस्तक्षेपयुक्त कार्य गर्दै अएको संघले जनाएको छ । यस सम्बन्धमा पटक पटक ध्यानाकर्षण गराउदा पनि असार २४ गते जोर्डन जान लागेका १५ जना कामदार, असार २७ गते कुवेत जान लागेका ११७ जना कामदारलाई विमानस्थलबाट अनावश्यक दोषारोपणसहित जान नदिई फर्काइएको कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको संघका अध्यक्ष राजेन्द्र भण्डारीले बताए । उनले वैदेशिक रोजगार विभागबाट इजाजतपत्र लिई वैदेशिक रोजगार व्यवसायीले वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम सम्पूर्ण कानुनी प्रक्रिया पुरा गरी वैदेशिक रोजगार विभागबाट अन्तिम श्रम स्वीकृति लिई रोजगारीमा जाने गरेको र यसको जानकारी हुदा हुँदै पनि कामदारलाई रोक्ने काम गरिएको बताए । विभागका श्रम स्वीकृति लिएको सम्पूर्ण जानकारी अनलाईन प्रणालीमार्फत अध्यागमनमा पनि जाने भएपनि त्यसलाई कर्मचारीले वेवास्ता गरेको उनको भनाइ छ । यस विषयमा संघले श्रममन्त्री लगाएत सवै सरोकारवालाहरुलाई जानकारी गराइसकेको भन्दै कामदार रोक्ने कार्यलाई निरन्रता दिए कडा आन्दोलन गर्नुपर्ने अवस्था आउन सक्ने संघले चेतावनी दिएको छ ।
कर्णाली प्रदेश अस्पतालमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण सुर्खेत। कर्णाली प्रदेश अस्पताल सुर्खेतमा दोस्रो पटक मिर्गौलाको सफल प्रत्यारोपण गरिएको छ । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र प्रदेश अस्पतालको संयुक्त प्रयासमा बिहीबार साँझ रोल्पाको रोल्पा नगरपालिका–२ निवासी ३५ वर्षीय पवनकुमार आचार्यको दोस्रो पटक मिर्गौलाको सफल प्रत्यारोपण गरिएको हो । उनलाई ५६ वर्षीय आमा देवाकुमारी आचार्यले छोरालाई मिर्गौला दान गरेकी थिइन्। प्रत्यारोपण सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक प्राडा पुकारचन्द्र श्रेष्ठ र प्रदेश अस्पतालका निर्देशक प्राडा डम्बर खड्काको टोलीले यही असार २८ गते प्रत्यारोपण कार्य सम्पन्न गरेको थियो । केन्द्र र अस्पतालबीच मिर्गौला प्रत्यारोपणका लागि २०७८ साल चैत १० गते सम्झौता भई प्रत्यारोपण सेवा सुरु गर्ने समझदारी भएको निर्देशक खड्काले बताए। प्रदेश अस्पतालमा नियमित प्रत्यारोपण सेवा सञ्चालन गर्ने योजना अस्पतालमा कार्यरत चिकित्सक, नर्स तथा प्राविधिकलाई क्षमता वृद्धि गरी आत्मनिर्भर बनाउन केहीलाई केन्द्रमा थप तालिमका लागि पठाएको र केहीलाई पठाउने योजना बनाइएको अस्पतालका निर्देशक खड्काले जानकारी दिए। कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री खड्कबहादुर पोखरेलले अब कर्णालीका जनताले मिर्गौला फेल भएर ज्यान गुमाउनुपर्ने समस्या कम हुने बताए। उनले प्रदेश अस्पतालले नमूना काम गरेको जनाउँदै प्रदेश सरकारले पनि अस्पतालको विकासका निम्ति काम गर्दै आएको बताए। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव देवकुमारी गुरागाईंले पश्चिम नेपालको सरकारी अस्पताल सुर्खेतका लागि प्राथमिकतामा राखेर काम गरिएको र आगामी दिनमा पनि आवश्यक हुने बताइन्। यसभन्दा पहिले २१ माघ २०७९ मा मृगौला प्रत्यारोपण गरिएको थियो । त्यति बेला पनि नवलपरासी बर्दघाट नगरपालिका–४ निवासी ४१ वर्षीय आमाले २२ वर्षीय छोरालाई मिर्गौला दिएकी थिइन्।
२ वर्षीय नातीको हत्या आरोपमा हजुरबुबा पक्राउ बैतडी । आफ्नै नाती २ वर्षीय रेशम साउँदको हत्या गरेको अभियोगमा पुर्चौडी नगरपालिका-६ मुरेलीधार बस्ने ५० वर्षीय गणेश साउँदलाई प्रहरीले पक्राउ गरेको छ । गणेशले रेशम र अर्का ८ वर्षीय नातीसमेत २ बालकलाई कुटपटि गर्दा गम्भीर घाइते भएकोमा रेशमको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएका हो । घाइते रिजनलाई सोही अस्पताल हुँदै थप उपचारको लागि मायामेट्रो अस्पाताल धनगढी पठाइएको छ । घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय र अस्थाई प्रहरी पोष्ट टोल्यामोडबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न गणेशलाई पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
स्वर्ण जित्ने कराते खेलाडीलाई एक लाख पुरस्कार पाल्पा। रामपुर नगरपालिकाले स्वर्ण पदक जित्ने कराते खेलाडीलाई पुरस्कृत गरेको छ। दक्षिण कोरियामा हालै सम्पन्न सम्पन्न १५औँ कोरिया ओपन कराते प्रतियोगितामा स्वर्ण जित्ने रामपुरका यमबहादुर समाललाई रु एक लाख नगदसहित पुरस्कृत गरेको हो। दक्षिण कोरियामा यही असार १६ र १७ गते सम्पन्न उक्त प्रतियोगितामा समालले पुरुषतर्फको ६० किलोमुनीको तौल समुहमा स्वर्ण पदक जितेका थिए। नगरपालिकाको नगरसभा तथा १३औं अधिवेशनका अवसरमा नगर प्रमुख रमणबहादुर थापा, उपप्रमुख बालकुमारी थापा र प्रमुख प्रशासकिय अधिकृत लेखनाथ न्यौपानेले उनलाई दोसल्ला ओढाएर सम्मान गरेका हुन्। सो अवसरमा नगरपालिकाका कर्मचारी तथा विभिन्न व्यक्तिलाई समेत सम्मान गरिएको थियो। सम्मानित हुनेमा रामपुर नगरपालिकाका कृषि शाखा अधिकृत रामहरी पाण्डेय, लेखा प्रमुख सीता न्यौपाने, इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक लक्ष्मण देवकोटा र अगुवा कृषक जनार्दन पन्त रहेका छन्।
बाघको आक्रमणबाट २५ वर्षीया युवती घाइते महेन्द्रनगर। बाघको आक्रमणबाट कञ्चनपुरको बेलौरीमा एक युवती घाइते भएकी छिन्। बाघको आक्रमणमा परी बेलौरी नगरपालिका–९ डाडाकुण्डाकी २५ वर्षीया बिन्दु डगौंरा घाइते भएकी हुन्। बिहीबार साँझ लालझाडी गाउँपालिका–६ चान्देउस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको छेउमा डगौंरालाई बाघले आक्रमण गरेको बेलौरी–९ का वडाध्यक्ष किसन रानाले जानकारी दिए। उनको धनगढीस्थित नवजीवन अस्पतालमा उपचार भइरहेको छ। डगौंरालगायत १०–१२ महिलाको समूह च्याउ टिप्न गएको थियो। सोही क्रममा बाघले डगौंरामाथि आक्रमण गरेको हो। “सबैले हो–हल्ला गरेपछि बाघ भाग्दा डगौंराको ज्यान जोगियो”, वडाध्यक्ष रानाले भने, “आक्रमणबाट उनको आँखा र टाउकोमा चोट लागेको छ ।” यसअघि बाघको आक्रमणबाट बेलौरी नगरपालिकामै एक महिलाको ज्यान गएको थियो।
चितवनको दासढुंगामा बस दुर्घटना, १९ जना घाइते चितवन। नारायणगढ-मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा १९ यात्रु घाइते भएका छन्। सडकखण्डको भरतपुर महानगरपालिका-२९ दासढुङ्गामा बागमती प्रदेश०१-००६ख ५२३७ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको हो। काँकडभिट्टाबाट काठमाडौँ जाँदै गरेको बस आज बिहान ५ः२० बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए। बस अनियन्त्रित भई सडकबाट १० मिटर तल खसी रुखमा अड्किएको छ। बसमा ४० यात्रु सवार थिए। घाइतेमध्ये १० जनाको पुरानो मेडिकल कलेजमा, आठ जनाको भरतपुर अस्पतालमा र एक जनालाई काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।
युद्ध अन्त्यको माग गर्दै काठमाडौंस्थित रुसी दूतावासअघि प्रदर्शन काठमाडौं । सन् २०२२ को फेब्रुअरी २४ का दिन रुसले युक्रेनमाथि आक्रमण गरेपछि सुरु भएको रुस–युक्रेन युद्धको ५०५औँ दिन मानवअधिकार तथा शान्ति समाजले तत्काल युद्ध अन्त्य गर्न रुसलाई आग्रह गर्दै काठमाडौंस्थित रुसी राजदूतावास अघि प्रदर्शन गरेको छ । आज दिउँसो सम्पन्न प्रदर्शनमा ‘रुस : तत्काल युद्ध अन्त्य गर’, ‘युद्धको ५०५ दिन : मानवता पराजित’, ‘रुसी आक्रमण बन्द गर’, ‘युद्धको ५०५ दिन : इतिहास लज्जित’, ‘रुसी आक्रमणका कारण हजारौँ नागरिकको मृत्यु’, ‘करोड बढी शरणार्थीरआन्तरिकरूपमा विस्थापित’, ‘खरबौँको क्षति, युद्ध लम्बिँदै छ’, ‘मानवता पराजित हुँदैछ’ लगायतका प्लेकार्ड प्रदर्शन गर्दै रुसलाई तत्काल युद्ध अन्त्य गर्न आग्रह गरिएको थियो । प्रदर्शनपछि रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई शान्ति समाजका तर्फबाट लेखिएको ज्ञापनपत्र नेपालस्थित रुसी राजदूतावासका अधिकारीमार्फत हस्तान्तरण गरिएको थियो । ज्ञापनपत्रमा युद्धका कारण मानवता पराजित भइरहेको दुःखद् अनुभव शान्ति समाजले गरेको उल्लेख गर्दै सन् २०२२ को फेब्रुअरी २४ का दिन रुसले युक्रेनमाथि आक्रमण गरेपछि सुरु भएको युद्ध तत्काल अन्त्य गर्न पुनः आग्रह गरिएको सभापति रामकृष्ण बरालले जानकारी दिए । प्रदर्शनमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति बराल, सल्लाहकार उत्तम पुडासैनी, पूर्वसभापति होमकान्त चौलागाईं, महासचिव रेनुका पौडेल, शान्तिवादीहरू डा केदारनरसिंह केसी, सुदर्शन सिग्देल, रत्नलक्ष्मी श्रेष्ठ, चन्द्रमणि बञ्जारा, बलबहादुर गाहा, किरण ढकाल, नम्रता खरेल, दिवाकर पुडासैनी, जगन्नाथ पुडासैनी, भगवान् पुडासैनी, विकास थापा, ईश्वर पुडासैनी, जयराम पुडासैनी, ईश्वर नेपाल, प्राची खनाल, रीता अधिकारी, आरसी भण्डारी, मणिराम दाहाल, गौतम खड्का, हिरामणि खनाललगायत चार दर्जन शान्तिवादीको सहभागिता रहेको जनाइएको छ । यसैगरी आजै रुसलाई तत्काल युुद्ध अन्त्य गर्न आग्रह गर्दै पाल्पा, रुपन्देही, सङ्खुवासभा, चितवन, सुर्खेत, तेह्रथुम, नवलपुर, रसुवालगायत एक दर्जन जिल्लामा शान्ति समाजका शाखाले प्रदर्शन गरेको जनाइएको छ । शान्ति समाजले ‘युद्ध निषेध स् शान्ति विशेष’ भन्ने आह्वानसहित २७ वर्षदेखि युद्ध र आणविक अस्त्रको विरोधमा अभियान सञ्चालन गर्दै आएको छ । विगतमा रुसलाई युद्ध रोक्न आग्रहसहित काठमाडाँैस्थित रुसी राजदूतावास अगाडि पटकपटक र देशभरि एक सयभन्दा बढी प्रदर्शन गरिसकेको छ ।रासस
नहरले बगाउँदा २० वर्षीय युवकको मृत्यु विराटनगर । मोरङको जहदा गाउँपालिका–३ मा नहरले बगाउँदा बेपत्ता भएका एक युवक बिहीबार दिउँसो मृत फेला परेका छन्। नहरले बगाएर बेपत्ता भएका भारतको बिहार सिनुवारी घर भइ जहदामा बस्दै आएका २० वर्षीय गणित राजवंशीको आज शव फेला परेको हो। मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार जहदा–३ स्थित मामा घरमा बस्दै आएका उनलाई पौडी खेल्ने क्रममा बुधबार साँझ नहरले बगाएर बेपत्ता बनाएको थियो। खोजतलास गर्ने क्रममा बेपत्ता बनाएकै स्थान नजिक बिहीबार दिउँसो ४ बजेतिर गणितलाई मृत फेला पारिएको डीएसपी दाहालले बताए। गणितसँगै पौडी खेल्न नहरमा छिरेका जहदा–३ का १८ वर्षीय दिपेश राजवंशीलाई भने प्रहरीले सकुशल उद्धार गरेको थियो। दाहालले घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिए।
म्यानमार पुर्‍याई बन्धक बनाएर अनलाइन स्क्यामिङ गराउने चिनियाँ नागरिक पक्राउ काठमाडौं । थाइल्याण्ड लाने भनी झुक्याई जबरजस्ती म्यानमार पुर्‍याई बन्धक बनाएर अनलाइन स्क्यामिङ गराएको अभियोगमा चिनियाँ नागरिक चीनको ज्ञानसु प्रान्त घर भई काठमाडौं महानगरपालिका–१५ बिजेश्वरीमा अस्थायी रुपमा बस्ने ४२ वर्षीय जोहन्सन नाम बताउने लियाङ जु लाई बुधबार प्रहरीले पक्राउ गरेको छ। दक्षिण पूर्वी एसियाका लाओस, थाइल्याण्ड, म्यान्मार लगायतका देशहरूमा रोजगारीको प्रलोभन देखाई अवैध अनलाइन स्क्यामिङमा लगाई शोषण गर्ने गरेको भन्ने उजुरीको आधारमा मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा उनलाई पक्राउ गरेको हो। लियाङले पीडितलाई थाईल्याण्डमा कम्प्युटर टाइपिङको काममा लाने भन्दै २०७९ साउन ९ गते म्यान्मार पुर्‍याई बन्धक बनाई अवैध अनलाइन स्क्यामिङमा काम गर्न बाध्य बनाई श्रम शोषण गरी शारीरिक तथा मानसिक यातना दिएको अवस्थामा पीडित नेपाल फिर्ता हुन खोज्दा उनले फिरौती रकम माग गरेकोमा उक्त रकम बुझाएपछि नेपाल फिर्ता भएको खुल्न आएको छ। लियाङ सन् २०१८ देखि नेपाल आउने जाने गर्दै भिजिट, स्टुडेन्ट र बिज्नेस भिसामा नेपालमा बसोवास गरी विभिन्न व्यवसायमा लगानी गरेको, उनी लगायत गिरोहले नेपालबाट रोजगारीमा थाईल्याण्ड लैजाने भनि नेपाली नागरिकहरुलाई म्यान्मार पठाउने गरेको, म्यान्मार पुगेपछि राहदानी र मोबाईल जफत गर्ने, बन्धक बनाउने र सामाजिक सञ्जालमार्फत दिनको १८ देखि २० घण्टासम्म अनलाइनको काममा लगाउने गरेको, अनलाइन स्क्यामिङमार्फत विशेषगरी अमेरिकी नागरिकहरुलाई फेक आइडीमार्फत कुराकानी गरी क्रिप्टोकरेन्सी, बिट कोइन लगायतमा लगानी गर्न लगाई ठगी गर्ने गरेको, काम गर्न नसकी फिर्ता हुन्छु भन्नेलाई रकम माग गर्ने गरेको, गिरोहकै मिलोमतोमा थाईल्याण्ड भनि म्यान्मार पठाईएका १० जनालाई जबर्जस्ती अनलाइन स्क्यामिङको काममा लगाउँदै आइरहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ। घटनमा संलग्न अन्य व्यक्तिहरूको खोजी गर्नुका साथै पक्राउ परेका उनी उपर जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ।
धनगढी उपमहानगरका दुई कर्मचारी निलम्बित धनगढी। धनगढी उपमहानगरपालिकाका दुई जना कर्मचारी निलम्बनमा परेका छन् । उपमहानगरपालिकाका प्राविधिक कर्मचारी निलम्बनमा परेको उपमहानगरले जनाएको छ । सरकारी बाटो कायम नगरेरै कित्ताकाटका लागि सिफारिस गरेको भेटिएपछि ती कर्मचारी एक महिनाका लागि निलम्बनमा परेका हुन् । जग्गा व्यवसायीले सरकारी जग्गामा भएको बाटो देखाएर कित्ता काटका लागि सिफारिस लगेको पाइएको छ । फिल्डमा गएर अनुगमन गर्ने र नियमअनुसार काम गर्नुपर्नेमा सो नगरेको पाइएपछि दुबै जना कर्मचारीलाई निलम्बन गरिएको हो । कर्मचारीको नाम तथा पद भने उपमहानगरले गोप्य राखेको छ ।
सुदूरपश्चिममा आत्महत्या गर्नेको संख्या बढ्दै, सबैभन्दा बढी कैलालीमा कञ्चनपुर। सुदूरपश्चिम प्रदेशमा आत्महत्या गर्नेहरुको सङ्ख्या बर्षेनि बढ्दै गएको छ । मानसिक स्वास्थ्यमा समस्या, लहड र सामान्य घरायसी विवाद र अशिक्षा लगायतका कारणले सुदूरपश्चिममा आत्महत्या बढिरेहको सुरक्षा संयन्त्रणको आँकलन छ । पछिल्लो छ वर्षयता प्रदेश सबैभन्दा झुण्डिएर आत्महत्या गर्ने तथ्यांकले बढी देखाएको छ । सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीका अनुसार चालु आर्थिक वर्षको हालसम्म नौ वटै जिल्लामा पाँच सय सात जनाले आत्महत्या गरेका छन् । प्रहरीका अनुसार गतवर्ष सुदूरमा पाँच सय ७६ जना र अघिल्लो आर्थिक वर्षमा छ सय ८६ जनाले आत्महत्या गरेको तथ्यांक छ । आत्महत्या गर्ने धेरैमा विष खाएर, झुण्डिएर, पानीमा हामफालेर, करेन्ट लगाएर हुने गरेको छ । चालु आवमा सबैभन्दा बढी कैलालीमा दुई सय ३३ जनाले आत्महत्या गरेका छन् । कञ्चनपुरमा एक सय १९, डोटीमा १५, अछाममा बीस जना, बाजुरा २०, बैतडी र बझाङमा २४/२४, दार्चुलामा २५ र डडेल्धुरामा २७ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङ्क छ । आत्महत्यालाई निरुत्साहित गर्न राष्ट्रियरुपमै योजना बनाएर नियन्त्रणको प्रयासमा लाग्नुपर्ने अवस्था आएको प्रहरी अधिकारीको भनाइ छ । “पहाडी जिल्लाभन्दा तराईका जिल्लामा बढी आत्महत्याका घटना बढेका छन्”, प्रहरी स्रोतले भन्यो, “आत्महत्या नियन्त्रण र लागुऔषध नियन्त्रण सुदूरपश्चिमका मुख्य चुनौती हुन् ।” आत्महत्या गर्नेमा बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म रहेको प्रहरी भनाइ छ । मुलुकी अपराधसंहिता २०७४ लागू भएयता आत्महत्या गर्न बाध्य पार्नेमाथि आत्महत्या दुरुत्साहनमा मुद्दा दर्ता गरेर कानुनी कारबाही अघि बढाइए पनि आत्महत्याको दरमा कमी भने आएको छैन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले मानसिक रोग भएको अवस्था, डिप्रेशन, बेरोजगारी, पारिवारिक तनाव र पछिल्लो समय सामाजिक सञ्जालको प्रयोगले समेत मानिसक आत्महत्या गरिरहेको बताए । “आत्महत्या न्यूनिकरण निकै चुनौतीपूर्ण विषय छ”, उनले भने, “यसको नियन्त्रणका लागि सबै निकायबाट पहल हुन जरुरी छ ।” उनले हरेक दिनजसो यहाँ आत्महत्याका घटना प्रहरीमा पुगिरहेको बताए।रासस
एक लाख ६६ हजार जनसंख्या बाढीपहिरोबाट प्रभावित हुने चितवन। जिल्लामा बाढीले कटान र डुबानसँगै पहिरोका कारण एक लाख ६६ हजार तीन सय ५० जना प्रभावित हुने देखिएको छ। बाढीका कारण कटान र डुबानमा ४६ हजार पाँच सय ७० घरधुरीका एक लाख ५८ हजार जनसङ्ख्या प्रभावित हुने प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। कार्यालयका सूचना अधिकारी आनन्दवंश न्यौपानेले बाढीबाट सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका जनता प्रभावित हुने बताए। महानगरपालिकाका ३० हजार घरधुरीका एक लाख जनता प्रभावित हुने प्रतिकार्य योजनामा जनाइएको छ। यस्तै कालिका नगरपालिकाका दुई हजार ५० घरधुरीका ६ हजार, रत्ननगर नगरपालिकाका पाँच हजार घरधुरीका १७ हजार, माडी नगरपालिकाका चार हजार पाँच सय घरधुरीका २० हजार व्यक्ति प्रभावित हुने जनाइएको छ। खैरहनी नगरपालिकाका एक हजार २० घरधुरीका तीन हजार र राप्ती नगरपालिकाका चार हजार घरधुरीका १२ हजार व्यक्ति प्रभावित हुने छन्। यस्तै पहिरोका कारण एक हजार आठ सय ५६ घरधुरीका आठ हजार तीन सय ५० जना प्रभावित हुने देखिएको छ। पहिरोमा सबैभन्दा जोखिममा इच्छाकामना गाउँपािलका रहेको छ। इच्छाकामनाका एक हजार दुई सय ५६ घरका छ हजार दुई सय ८० जना प्रभावित हुने अनुमान जिल्ला प्रशासन कार्यालयले गरेको छ। भरतपुरका तीत सय घरधुरीका एक हजार, कालिका नगरपालिकाका एक सय घरधुरीका तीन सय ५० र राप्ती नगरपालिकाका दुई सय घरधुरीका सात सय २० जना पहिरोका कारण प्रभावित हुने देखिएको छ। जिल्लामा बाढी, डुबान, चट्याङ, हावाहुरी, पहिरो, जनावर आतंक आदि प्रकोप समस्याका रुपमा रहेका छन्। सूचना अधिकारी न्यौपानेले भने, “विपद् व्यवस्थापनका लागि नेपाल प्रहरी, नेपाली सेनाको नयाँ सबुज दल गण, डिभिजन वन कार्यालय, सशस्त्र प्रहरीमा रहेका उद्धारका सामग्री तयारी अवस्थामा राख्न निर्देशन भएको छ।” अन्य सामाजिक संघ संस्थालाई उद्धार र राहतका लागि तयारी गर्न आह्वान गरिएको उनले जानकारी दिए। बाढीका कारण भरतपुर महानगरपालिकाको पश्चिमी क्षेत्र बढी डुबानमा पर्ने गरेकाले सो क्षेत्रका जनतालाई सचेत रहन अनुरोध गरिएको छ। यस्तै अन्य पालिकामा नदी तटीय क्षेत्रमा बसोबास गर्ने जनतालाई समेत सुरक्षित क्षेत्रको पहिचान गरी विपद्बाट बच्न सजग रहन आह्वान गरिएको उनले बताए। विपद्बाट बच्न पूर्व तयारीका लागि सातै पालिकामा सूचना गरिएको कार्यालयले जनाएको छ।
बजेट नछु्ट्याउँदा कालीकोटको सरुवा रोग अस्पताल बन्द हुने अवस्थामा मान्म। कालीकोटमा सञ्चालित सरुवा रोग अस्पताल बजेट अभावका कारण बन्द हुने अवस्थामा पुगेको छ। कर्णाली प्रदेश सरकारले दुई वर्षअघि स्थापना गरेको थियो। तर प्रदेश सरकारले आगामी आवका लागि बजेट बिनियोजन नगर्दा अस्पताल बन्द हुने अवस्थामा आएको जिल्ला स्वास्थ्य सेवा कार्यालय कालीकोटले जनाएको छ। एक जना मेडिकल अधिकृतसहित २१ स्वास्थ्यकर्मीको दरबन्दी रहेको सरुवा रोग अस्पताल सञ्चालन गर्न बजेट माग गर्ने विषयमा कर्णाली प्रदेश सरकार र सामाजिक विकास मन्त्रालय समक्ष अनुरोध गर्ने कार्यालयका अधिकृत कटकबहादुर महतले जानकारी दिए। “सर्वदलीय र सर्वपक्षीय वैठक बसेर सरुवा रोग अस्पताललाई तत्काल वजेट बिनियोजन गर्न माग गर्ने निर्णय भएको छ”, उनले भने, “आगामी वर्षमा बजेट व्यवस्था नहुँदा समस्या हुने भएको हो ।” – रासस
व्यवस्थित बन्दै गाईघाट झरना ढोरपाटन। बागलुङको उत्कृष्ट पर्यटकीय गन्तव्यमध्यको एक हो ताराखोलाको गाईघाट झरना। गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाको सङ्गमस्थलमा रहेको यो झरना पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ। बाह्रै महिना सफा पानी नबग्ने यो झरनाको सौन्दर्य हरेक याममा एउटै देखिन्छ । गाउँपालिकाको प्रवेशद्वारमै रहेको यस झरनाले आगन्तुकलाई स्वागत गरिरहेको छ। गाउँपालिकाले झरनाको तीव्र प्रचारप्रसार र पूर्वाधार विकास गरेपश्चात् यहाँ पर्यटकको आगमनमा वृद्धि भएको छ। झरनालाई थप व्यवस्थित र पर्यटकमैत्री बनाउनका लागि ताराखोला गाउँपालिकाले हरेक वर्ष भौतिक पूर्वाधार निर्माणलाई जोड दिएको छ। चालु आर्थिक वर्षमा गाउँपालिकाले झरनासम्म पुग्ने गरी दरमखोलामाथि ट्रस पुल निर्माण गरेको छ भने तालसमेत निर्माण गरेको छ। चालु आर्थिक वर्षमा विनियोजन गरेको पाँच लाख रुपैयाँबाट झरना वरपरका क्षेत्रमा सोलार बत्तीसमेत जडान गरेको ताराखोलाका उपाध्यक्ष भीमबहादुर रोकामगरले जानकारी दिए। पहिले सडकदेखि झरनासम्म जोड्ने गरी निर्माण भएको झलुंगे पुल बाढीले बगाएपछि यस वर्ष नयाँ पुल निर्माण गरिएको उनको भनाइ छ। झरनाको सौन्दर्यकरणका लागि गाउँपालिकाले आगामी वर्षका लागि हरियाली पार्क निर्माणका लागि रु १५ लाख र पदमार्ग निर्माणका लागि रु १० लाख विनियोजन गरेको उपाध्यक्ष रोका मगरले बताए। उनले भने, “अहिलेसम्म झरनाको अवलोकन उज्यालोको समयमा मात्रै गरिन्थ्यो, अब झरनाको रातको समयमा पनि अवलोकन गर्न सकिन्छ, अहिले सोलार बत्ती जडान भएको छ, पहिलेको तुलनामा अहिले धेरै पूर्वाधार निर्माण भइरहेका छन्, हामीहरुले पनि धेरैभन्दा धेरै पर्यटक भित्र्याउने गरी झरनाको सौन्दर्यकरण गर्ने र त्यस वरपर विभिन्न किसिमका संरचना बनाउने योजनामा छौँ, थप व्यवस्थित बनेपछि पर्यटक पनि बढी आउनु हुनेछ। पाँच वर्ष अगाडिको तुलनामा अहिले झरनाको स्वरुपमा धेरै परिवर्तन आएको स्थानीय अम्मरबहादुर नाइसाले बताए। घर्तीले चार वर्ष अगाडिसम्म सुनसान रहेको झरनामा अहिले दैनिक ५०/६० जनाभन्दा बढी पर्यटक आउने गरेको उनको भनाइ छ। बिदाको समय र चाडपर्वका बेला तीन सयको हारहारीमा पर्यटक आउने गरेको नाइसा बताउँछन्। झरनाले गर्दा मध्यपहाडी लोकमार्ग हुँदै ढोरपाटन र पातीहाल्ने जाने पर्यटक पनि यहाँ आउन थालेको उनको भनाइ छ। “यो झरना धेरै वर्ष पुरानो हो, पहिले झरना हुँदै हिँड्ने यात्रुले पानी पिउने ठाउँ थियो, अहिलेको जस्तो यस्तो चर्चित थिएन, पहिला यो झरना ओझेलमा थियो, ताराखोला आउने र ताराखोलाबाट बजार झर्नेले मात्रै यो झरना देख्ने गर्थे, बाहिरी मान्छे आउँदैनथे, अहिले धेरै मान्छे आउन थालेका छन्”, उनले भने, “ठाउँ अलिकति विकट थियो, यस्तो ठाउँमा पर्यटक आउलान् भन्ने त हामीले सोचेका थिएनौँ तर यति धेरै पर्यटक आउन थाले, झरनाको फेद त कहिल्यै पनि खाली भएन, सबै भरिभराउ, यहाँ खाजा खाने र आराम गर्ने स्थल निर्माण गर्नसके अझै धेरै पर्यटक आउने थिए।”- रासस
पहिरोले दशरथचन्द राजमार्ग अवरुद्ध, यात्रु अलपत्र बैतडी। वर्षाका कारण पहिरा खस्दा गए रातिदेखि दशरथचन्द राजमार्ग अवरुद्ध भएको छ। गोठलापानी–झुलाघाट सडकखण्डको धारीगाडमा पहिरो खस्दा सडक अवरुद्ध भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए। सडक अवरुद्ध हुँदा गोठलापानीबाट झुलाघाट बजार जाने र झुलाघाटदेखि छुट्ने सवारीसाधन पूर्णरुपमा बन्द भएका छन्। पहिरो पन्छाउनका लागि डोजर पठाइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
तनहुँका किसान पशुपालनमा आकर्षितः मासु,अण्डा र दूधमा आत्मनिर्भर तनहुँ। पशुपालनतर्फ कृषकको आकर्षण बढेसँगै दूध, मासु र अण्डामा तनहुँ आत्मनिर्भर बन्दै गएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र र स्थानीय तहले कृषकलाई प्रोत्साहन स्वरुप अनुदान उपलब्ध गराएपछि कृषक पशुपालनतर्फ आकर्षित भएका हुन् । जिल्ला दूध, मासु र अण्डामा आत्मनिर्भर बन्न सफल भएको केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले बताए। आत्मनिर्भर बनेसँगै यहाँ उत्पादन भएका दूध, मासु र अण्डा जिल्ला बाहिर पनि निर्यात हुन थालेको उनको भनाइ थियो । उनका अनुसार प्रतिव्यक्ति प्रतिवर्ष न्यूनतम ९१ लिटर दूध आवश्यकपर्नेमा तनहुँमा एक सय १८ दशमलव ५४ लिटर उपलब्धता छ । त्यस्तै प्रतिव्यक्ति प्रतिवर्ष ९४ केजी मासु आवश्यकपर्नेमा ९४.४१ केजी मासु उपलब्धता छ भने ४८ वटा अण्डा आवश्यकपर्नेमा ८२.५९ वटा अण्डा उपलब्धता रहेको प्रमुख डा श्रेष्ठले जानकारी दिए। यस हिसाबले प्रतिव्यक्तिका लागि दूधमा २७.५४ लिटर, मासुमा ०.४९ केजी र अण्डामा ३४.५९ गोटा बढी उत्पादन भइरहेको कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७८र७९ मा दूध ३८ हजार आठ सय ३८ र मासु चार हजार सात सय ४३ मेट्रिकटन उत्पादन भएको छ । अण्डा दुई करोड ७० लाख ६० हजार वटा उत्पादन भएको छ । कार्यालयका अनुसार दूधको २९ हजार सात सय ८२ र मासुको चार हजार पाँच सय ८१ मेट्रिक टन तथा अण्डाको एक करोड ७३ लाख ४५ हजार गोटा माग छ । दूध नौ हजार ५६ र मासु एक सय ६२ मेट्रिक टन बढी उत्पादन भएको छ भने अण्डा ९७ लाख १५ हजार बढी उत्पादन भइरहेको प्रमुख डा श्रेष्ठले जानकारी दिए। आर्थिक वर्ष २०७७र७८ मा दूध ३७ हजार नौ सय २८, मासु चार हजार पाँच सय ७६ मेट्रिकटन उत्पादन भएको थियो भने अण्डा दुई करोड ५९ लाख ९५ हजार गोटा उत्पादन भएको कार्यालयले जनाएको छ । जिल्लामा पशुपक्षीको सङ्ख्यामा पनि वृद्धि भएको छ । आर्थिक वर्ष २०७८र७९ को तथ्यांक अनुसार गाईको सङ्ख्या ५२ हजार आठ सय तीन, भैँसीको सङ्ख्या ५७ हजार पाँच सय ४४, भेडाको सङ्ख्या सात सय २६, बाख्राको सङ्ख्या ३९ हजार चार सय ३४, कुखुराको सङ्ख्या एक लाख ९५, हाँसको सङ्ख्या १२ हजार छ सय ९४, बङ्गुरको सङ्ख्या ४८ हजार तीन सय ११ थियो । केन्द्र प्रमुख डा श्रेष्ठका अनुसार जिल्लामा व्यावसायिक पशुपक्षी फार्म दर्ता पनि बढेको छ । जिल्लामा दुई सय १९ गाई, ८६ भैँसी, तीन सय ४१ बाख्रा, एक सय १३ बङ्गुर, दुई सय ५५ कुखुरा, ५४ माछा र ३५ घाँस, पशुपक्षी फार्म सञ्चालनमा छन् । दूध उत्पादन बढेपछि जिल्लाका विभिन्न ठाउँमा दूध सहकारी सङ्कलन केन्द्रसमेत खोलिएका छन् । सहकारीमार्फत कृषकलाई दूध बजारीकरणमा सहयोग पुगेको शुक्लागण्डकी नगरपालिका–४ स्थित शुक्ला कृषि पर्यटन सहकारी संस्थाले जनाएको छ । उक्त सहकारीले दैनिक एक हजार लिटर दूध बिक्री वितरण गर्दै आएको सहकारीका अध्यक्ष मुक्ति सिग्देलले जानकारी दिए। उनका अनुसार सहकारीले कृषकलाई भैँसीको दूध रू एक सय र गाईको दूध रू ९० प्रतिलिटर उपलब्ध गराउँदै आएको छ । “दूध बिक्री वितरणका लागि सहकारीले गाडी पठाएर गाउँबाट दूध सङ्कलन गर्दै आएको छ । दूध सङ्कलनका लागि छ ठाउँमा सङ्कलन केन्द्र स्थापना गरेका छौँ”, सिक्देलले भने, “दूध बिक्रीका लागि बजारको समस्या छैन । स्थानीय बजारमै दूध खपत हुन्छ ।” दुई हजार पाँच सय शेयर सदस्य आबद्ध सहकारीबाट एक सय कृषकले दूध बिक्रीवितरण गर्दै आएका छन । दूध बिक्री गरेर कृषकले मासिक रू एक लाखसम्म आम्दानी गर्दै आएका छन् । म्याग्दे गाउँपालिकाबाट यस वर्षमात्रै एक लाख ६२ हजार आठ सय ८९ लिटर दूध उत्पादन भएको छ । म्याग्दे दुग्ध उत्पादक सहकारीले एक लाख २१ लाख आठ सय ६८ लिटर, गौसेवा दुग्ध उत्पादक सहकारीले २३ हजार ६८ सहित अन्य दुग्ध उत्पादक सहकारीले १७ हजार नौ सय ५२ लिटर दुग्ध बिक्री गरेका छन् । पशुपालनबाट मनग्य आम्दानी हुने भएपछि विदेशबाट फर्किएका युवा यसमा आकर्षित भएका हुन् । विदेशबाट फर्किएका स्थानीय पाँच युवाले एग्रो प्रालि दर्ता गरी व्यावसायिकरुपमा पशुपालन गरिरहेका छन् । उक्त एग्रोमा हाल एक सय ५० गाईभैँसी रहेका प्रालिका व्यवस्थापक विशाल पौडेलले जानकारी दिनुए। उनका अनुसार फार्ममा ३० वटा गाई छन् । “फार्ममा ५० भैँसी र ३० गाई दुधालु छन्”, पौडलले भने, “फार्मबाट दैनिक छ सय लिटर दूध उत्पादन हुँदै आएको छ ।” दैनिक एक हजार पाँच सय लिटर दूध उत्पादन गर्ने लक्ष्य सहित ६० गाई थप्ने योजना रहेको उनले बताए।रासस
काठमाडौं महानगरले साउन २० गते छात्रवृत्तिका लागि परीक्षा लिने काठमाडौं। काठमाडौँ महानगरपालिकाले कक्षा ११ मा प्रदान गरिने छात्रवृत्तिका लागि आगामी साउन २० गते परीक्षा लिने भएको छ । यसका लागि महानगरपालिकाले आजदेखि अनलाइन आवेदन खुला गरेको छ । महानगर अन्तर्गतको शिक्षा विभागले आज एक सूचना प्रकाशित गरी शैक्षिक सत्र २०८०र८१ का लागि छात्रवृत्तिका आज बिहान १० बजेदेखि साउन १२ गतेसम्म आवेदन खुला गरेको हो । विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा, कानुन र प्राविधिक विषयमा छात्रवृत्ति परीक्षा हुने महानगरको शिक्षा विभागले जनाएको छ । परीक्षामा कक्षा १० को पाठ्यक्रममा आधारित एक सय वटा बहुवैकल्पिक वस्तुगत प्रश्न सोधिने उक्त सूचनामा उल्लेख गरिएको छ ।
मनाङका चौपायामा पनि लम्पी स्किन मनाङ। हिमाली जिल्ला मनाङका पशु चौपायमा लम्पी स्किन रोग (छालामा हुने गिर्खे रोग) देखिएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मनाङका पशु चिकित्सक नारायण कुसुमले चामे गाउँपालिका–२ थानचोकका किसानले पालेको एउटा गोरुमा लम्पी स्किनको लक्षण देखिएको जानकारी दिए। उनका अनुसार गोरुलाई उच्च ज्वरो आएको छ। गोरुको छालामा स–सानादेखि ठूलासम्म पूरै गिर्खा देखिएको उनले बताए। “बिरामी गोरुले घाँस खान कम गरेको छ, ज्वरो र रोगका लक्षणअनुसारका गिर्खा देखिएको छ”, कुसुमले भने। किसानले गोरु बिरामी भएको खबर गरेपछि मंगलबार उपचार गर्न जाँदा गोरुमा लम्पी स्किन रोगको लक्षण देखिएको कुसुमले बताए। मनाङमा पाइने लुलु गाईबाट जन्मिएको गोरुमा सङ्क्रमण देखिएको उनले बताए। उक्त गोरु होचो कदको रहेको छ। “गोरुलाई लम्पी स्किन रोगको उपचार सुरु गरिएको छ, अन्य गाईगोरुसँग सम्पर्क नहुने गरी छुट्टै राख्ने प्रवन्ध मिलाएका छौँ”, कुसुमले भने। मनाङमा पहिलोपटक लम्पी स्किन रोग देखिएको हो। मनाङमा दुई हजार डोज लम्पी स्किन रोगविरुद्धको खोप ल्याएको कुसुमले जानकारी दिए। मंगलबारबाट चामे गाउँपालिकाका गाई गोरुमा लम्पी स्किन रोगविरुद्धको खोप लगाउन सुरु गरिएको छ। केही दिनपछि नासोँ गाउँपालिकाका किसानले पालेका पशुमा उक्त रोगविरुद्धको खोप लगाउन थालिने उनले बताए। मनाङमा गाईगोरुको सङ्ख्या एक हजार पाँच सयको हाराहारीमा रहेको कुसुमले बताए।
त्रिवेणीका नागरिकको प्रश्न- ‘राज्य कहाँ छ ?’ डोल्पा। तीन जिल्लाको संगम स्थल त्रिवेणी ! जहाँ राज्यले मुस्किलले कच्ची सडक पुर्‍याएको छ। चारैतिर ठूला पहाडको बीचमा ठूलो भेरी नदीको छालसँगै जोडिएको रुकुम पश्चिम आठबीसकोट नगरपालिका–६ त्रिवेणी गाउँ पुग्दा जो कोहीलाई पनि एक छिन अनौठो लाग्छ। भेरी नदीले छाल हान्दा सिधैँ घरको जगमा पर्दा यहाँका सर्वसाधारणहरु रातभेरी सुत्न नपाउने गरेको जगदुल्ला जलविद्युत् आयोजनाका सुपरभाइजर सुमन बिसीले बताए। आफूहरु पनि ठुलो पानी परेको समयमा रातभरि निन्द्रा नलाग्ने गरेको उनको भनाइ छ । करिब ५० घर रहेको त्रिवेणी तल्लो डोल्पाको व्यापारिक केन्द्र पनि हो। भेरी करिडोर सडक आयोजनाको डोल्पाको सुरुवात बिन्दुसमेत यही त्रिवेणी रहेको छ। यहाँ शिक्षा लिनका लागि विद्यालय, औषधि उपचारका लागि स्वास्थ्य संस्था लगायतका कुराहरु लिनका लागि एक दिन नै पर्खनुपर्ने अवस्था छ। शान्ति सुरक्षाका लागि प्रहरी चौकी समेत नहुँदा दैनिक घटना भए पनि सबै गुपचुप मिल्ने गरेका छन्। जंगली जनावारहरु समेत दैनिक मारेर ठूलो व्यापार समेत हुने गरेको छ। तीन जिल्लाको संगम स्थलका साथै मुख्य नाका भएका कारण सबैले अवैध कारोबारदेखि सबै खालका गतिविधिहरु गर्ने स्थान यही रहेको छ। बिरामी हुँदा उपचार नपाउने वषौँ देखिको यहाँको समस्य हो। रेडियो ,सञ्चार सेवा त यहाँको लागि धेरै परको कुरा रहेको स्थानीयबासी सपना डिसीले बताइन्। त्रिवेणी हुँदै त्रिपुरासुन्दरी नगरपालिकाको खदाङ सम्मको सडकमा रहेको बस्तीमा कुनै पनि सेवा सुविधा नभएको उनको भनाइ छ। त्रिवेणीको चारैतिर ठूला चरी लड्ने भीर रहेका छन्। रुकुमको अन्तिम बिन्दु र डोल्पाको सुरुवातसँगै जाजरकोटको अन्तिम बिन्दु भएका कारण डोल्पाका सबै आर्थिक क्रियाकलाप यहीँबाट सुरु हुन्छ। यही बाटो भएर डोल्पा जाने एक मात्र रुट भएका कारण जनघनत्व समेत भारी मात्रामा रहेको छ। भूभाग रुकुमको भए पनि डोल्पा जाने मुख्य द्वार यही रहेको छ। जतिसुकै आर्थिक गतिविधिहरु भए पनि सामान्य औषधि पसल नहुँदा यहाँका सर्वसाधारणहरु हैरान हुँदै आएका छन्। भेरी नदी र जगदुल्ला नदीको बीचमा रहेको यो गाउँ हुँदै विद्युत् सेवा डोल्पा पुर्‍याएकाे भए पनि यहाँ बत्तीले छुन सकेको छैन। प्रहरी चौकी, स्वास्थ्य संस्थाका विषयमा धेरै पटक सरोकारवाला निकायसँग छलफल भई माग सम्बाेधन गर्ने बताइए पनि अहिलेसम्म पूरा हुन नसकेको हो। द्वन्द्वकालमा भएका प्रहरी चौकीहरु अहिले अर्को ठाउँमा सारिँदा आफूहरु अन्ययमा परेको त्रिवेणीका कल्धर बुढाले बताए। जगदुल्ला जलविद्युत् आयोजनाले भेरी नदीमा पुल निर्माण यही ठाउँमा गरिरहेको छ। त्यस्तै अन्य विकासका कामहरु समेत यहाँ भएपनि शिक्षा ,स्वास्थ्य र सुरक्षा जस्ता आधारभुत कुरा नहुँदा समस्य हुँदै आएको सर्वसाधाणले बताएका छन्। भूभाग रुकुम पश्चिको बसोबास डोल्पालीको भएको उनले बताए। उत्ता आठबीसकोट नगरपालिकाका मेयर रवि केसीले त्यहाँको समस्यका बारेमा जानकार भएको बताए।
आनन्दपुरका कृषक भन्छन्,‘पर्याप्त आलु उत्पादनले घर छोड्न मन लागेन’ बझाङ। बझाङको वित्थडचिर गाउँपालिका–१ आनन्दपुरका कलक बोहराले पुस्तौँदेखि मकै लगाउँदै आएको बारीमा यसपटक रातो आलु लगाए। आनन्दपुरमा मकैको तुलनामा रातो आलुको उत्पादन अत्यधिक भएपछि उहाँ तरकारी खेती रोजेका हुन्। बर्सेनि भारतमा मजदुरी गरेर जीविकोपार्जन गर्दै आउनुभएका बोहरालाई यसपटक पर्याप्त आलु उत्पादन भएपछि घर छोड्न मन लागेको छैन । छोड्नुपर्ने अवस्था पनि छैन । पाँच कट्टामा बीउ रोप्नुभएका बोहरालाई आलु बेचेर जीविकोपार्जन हुने देखेपछि अब उहाँको रोजाइ तरकारी खेती नै भएको छ । “दुई सुप्पो मकै फल्ने बारीमा यसपटक चार बोरा आलु फल्यो । गत साता रु ३४ हजारको आलु बिक्री गरे । अझै १० क्विन्टल जति आलु खन्न बाँकी छ”, बोहराले भने। उनी यस वर्ष मात्र लामो समयसम्म घरमा बसेका हुन्। वर्षमा झण्डै आठ महिना समय बोहराको भारतमै मजदुरी गरेर वित्थ्यो ।त्यसैबाट उनको परिवारको खर्च चल्थ्यो । बोहराले भने, “एक वर्षयता मजदुरी गर्न भारत गएको छैन । आलु फल्ने यामपछि अर्को तरकारी लगाउनुपर्ला सोचेको छु । अब मजदुरी गर्न भारत जाँदैन।” कृषि ज्ञान केन्द्रले बीउदेखि बजारीकरणको सहयोग गरेपछि आलु उत्पादनमा जोडबल गरेको स्थानीय रमादेवी बोहराले बताए। “हामीलाई आलु खेतीबारे खासै ज्ञान थिएन । कहिलेकाहीँ तरकारी खानका लागि मात्र लगायौँ, बिक्री गर्ने उद्देश्यले भने लगाएका होइनौँ । यसरी व्यावसायिकरूपमा आलु खेती गरेको पहिलो पटक हो । सुरूआतमै फाइदा भयो ।” बोहराका अनुसार रातो आलु एउटै बोटमा २० दानासम्म फलेको छ । हालसम्म रु २७ हजारको आलु बिक्री गरिसकेको उनले सुनाए। किशोरावस्थामै पुरुष विद्यालय छोडेर भारतमा मजदुरी गर्न जाने गरेका छन् । रमादेवीका छोरा किरण पनि मजदुरी गर्न भारतको पिथौरागढ जाने तयारीमा थिए । रमादेवीले भनिन्, “अब गाउँमै तरकारी खेतीमै मिहेनत गर्न लगाउँछु । यसबाटै जिन्दगी चल्छ जस्तो लागेको छ । पढाइ पनि गर्छ, भारत पठाउँदिन ।” राजमार्ग नजिकका कृषक तरकारी खेतीतर्फ मनमती बोहरा ७१ वर्षकी भइन्। उनलाई अहिलेको जसरी आनन्दपुरमा यसरी आलु फलेको सम्झना छैन । “एकपटक श्रीमान्ले बाली फेर्नुप¥यो भनेर आलु र टमाटर लगाउनुभएको थियो तर, त्यो बेला बढी मल र निरन्तर पानीका कारण खासै उब्जनी भएन ।” त्यसपछि कहिल्यै आलु नलगाएको उनले बताइन्। यसपटक भने एकै गह्राबाट ११ क्विन्टल आलु बेचेको मनमतीले बताइन्। “हाम्रो सबै बारी गरेर तीन क्विन्टल बराबर मकै फल्थ्यो । आफूले खाने, वस्तुभाउलाई खुवाउनमै बराबर हुन्थ्यो । यसपटक भने नसोचेकै आलु उत्पादन भयो । आलु निकाल्न, सुकाउन घरमा सबैलाई दौडधुप भइरहेको छ ।” उनले भनिन्। धवलसिंह बोहरा अहिले दोस्रो चरणमा आलु बजारीकरण गर्नका लागि तयारी गरिरहेका छन् । “पहिलो चरणमा लिएको आलु कैलालीसम्म पुग्यो”, उनले भने, “फेरि आलु निकालेर सुकाइरहेका छौँ । अब दोस्रो साता ट्रकमा नै तराईसम्म लिने तयारी भइरहेको छ ।” धवलसिंहको परिवारमा अहिले पाँच जना हुनुहुन्छ । पाँचै जना आलुकै पछाडि लागिरहनुभएको छ । दुई वर्ष अगाडिदेखि नै नेपाल आएका धवलसिंहलाई यसपटक भने व्यावसायिक सफलता मिलेको छ । “वर्षभरि काम गर्दा रु एक हजार पनि गाउँमा नकमाउने हामी अहिले निर्धक्क छौँ । समयअनुसारको व्यवसायबाट लाभ लिन सकिने रहेछ भन्ने सिकाइ पनि भयो ।” उनले भने। यता कृषि ज्ञान केन्द्र बझाङका प्रमुख टेकबहादुर विष्टले कृषकलाई व्यावसायिक बनाउन आफ्नोतर्फबाट सक्दो सहयोग गरिरहेको बताए।“कृषकलाई व्यवसायमा प्रेरित गर्नका लागि बीउदेखि बजारसम्मको काम गरिरहेका छौँ”, विष्टले भने, “काम गर्ने कृषकका लागि हामी रात दिन नभनी सहयोग गर्छौं ।” आनन्दपुरमा पनि आफूले गरेको मेहेनतअनुसार सिचाई, मलको अभाव हुँदासमेत निकै राम्रो फलेको उनले बताए। “कृषकले इमानदारिताका साथ काम गरेमा उहाँहरूको भविष्य कृषिमै सुनिश्चित हुन्छ ।” उनले भने। जिल्लामा विभिन्न प्रकारका हाइब्रिड खाले तरकारी, फलफूल अन्य बालीको परीक्षणसमेत भइरहेको उनले बताए। उनले भने, “हामीले चैते धानको पनि सफल परीक्षण गरिसकेका छौँ । ड्राइगन खेती भरखर सुरू गरेका छौँ । नतिजा सफलोन्मुखतिरै देखिएको छ ।” नेपालमा मजदुरी गर्न पनि पाइन्न आनन्दपुरकै सीताराम तीन वर्ष अगाडि सडकमा ग्याविन जाली भर्ने काम गर्दथे । तीन महिनासम्म लगातार सडकमा काम गरेको ज्याला एक वर्षसम्म पनि नपाएपछि उहाँ पिथौरागढ हानिए। ठेकेदारले भोलि भोलि भन्दै हैरानी पारेपछि परिवार पाल्नै समस्या भयो । विस्तारै ठेकेदारले फोन नउठाउने, अफ गर्ने भएपछि साउनको महिना सीताराम पिथौरा गए। काम गर्ने अवसर हुँदाहुँदै पनि मजदुर ठगिने हुँदा नेपालमा बस्ने समस्या हुने गरेको उनले बताए। उनले भने, “हामी दैनिक ज्यालादारी गरेर परिवार पाल्ने मान्छे । काम गराएर पैसा नदिएपछि त गाउँघरमा कसरी बस्नु ?” काम गरेको पैसा समयमै पाउनुको सट्टा उल्टै ‘दश ढोग, अठार सलाम’ गर्नुपर्ने उनले बताए। “पिथौरागढमा भने काम गरेपछि जुन बेला पनि पैसा पाउँछ”, उनले भने, “पिथौरामा सानो ठूलो काम गरेपछि उसैबेला पैसा पाइन्छ । पैसाको खाँचो पनि हुँदैन । काम भने शक्तिअनुसारकै हुन्छ ।” भारतकै पैसाले फेरिएको आनन्दपुर आनन्दपुरमा ३५ परिवार छन् । ती परिवारका सदस्य अधिकांश भारतको पिथौरागढमै छन् । सानो तिनो काम गर्न सक्ने सबै पुरूष चार महिनाबाहेकका आठ महिना मजदुरीका लागि जाने गर्छन्। पिथौरागढमा उनीहरू भारी बोक्ने, गाडी उतार्ने, भर्ने, सामान ओसारपसार गर्नेलगायतका काम गर्छन । धनसिंह बोहराले भने, “ पिथौरागढमा जति काम ग¥यो, त्योअनुसारको पैसा आउँछ । तीन चार महिनामै कमाएको पैसाले पनि वर्षभरि घर खर्च चल्छ । यहाँ त खाली बस्नुपर्छ, नुन, तेल किन्ने पैसा पनि कमाउन सकिँदैन ।” काम गरे कमाउन सकिने भन्दै बाजे बराजुको पालादेखि पिथौरागढमा हाम्रो रोजीरोटीस्थल बनेको उनले बताए। पिथौरागढमा कमाएको पैसाले अहिले आनन्दपुर नै फेरिएको छ। “पहिले सबैका घरहरू स–साना खरले छाएका थिए । अहिले भने गाउँको रूप नै फेरिएको छ । धेरैले पक्की घर बनाइसकेका छन् । कतिपयका निर्माणाधीन अवस्थामा छन् । घरहरू छरिएका नभएको भए टाढाबाट विछट्टै सुन्दर देखिन्थ्यो होला ।” अहिले आनन्दपुरमा कमजोर हुनेले पनि राम्रो घर बनाइसकेको उनले बताए। पिथौरागढ आनन्दपुरवासीको रोजाइमा पर्नुको कारण नजिकको विदेशी सहर भएकाले हो । आनन्दपुरबाट बिहान गए साँझ पिथौरागढ पुग्न सकिने, सधैँ गएको ठाउँ पनि हुँदा काम गर्न सजिलो हुँदा सबैको मजदुरको छनोटमा परेको उनले बताए।
नारायणी लिफ्टबाट पानी छोड्न समय लाग्ने चितवन। लामो समयको खडेरीका कारण धान रोप्न नपाएका यहाँका किसान नारायणी सिँचाइ आयोजनाबाट पानी नछोड्दा अझै अन्योलमा छन्। यस सिँचाइ आयोजनाबाट पानी छोडेर धान रोप्ने किसान पानी छोड्ने दिन गन्दै बसेका छन्। लिफ्टबाट पानी छोड्न समय लाग्ने भएको छ। लिफ्टमा मेसीन जडानको काम भइरहेकाले केही दिन लाग्ने आयोजनाका इन्जिनियर कुलराज चालिसेले जानकारी दिए। पुराना पम्प मोटर बिग्रिदा नयाँ मोटर जडानको काम भइरहेको छ। अहिले चारवटा मोटर जडानको काम भइरहेकाले अझै केही दिन पानी छोड्न कठिन हुने उनले बताए। चालिसेले भने, “असार मसान्तभित्र मेसिन जडानको काम सकिन्छ। त्यसलगत्तै पानी छाड्ने योजनामा रहेका छौँ।” रु २६ करोडको ठेक्का सम्झौतामा भारतीय कम्पनीले मेसिन जडानको काम गरिरहेकाले केही दिन लागेको उनले जानकारी दिए। उनले थपे, “साउन पहिलो साताभित्र पानी दिने गरी काम गरिहेका छौँ।” पुराना मेसीन बिग्रंदै जाँदा क्षमताअनुसार पानी तान्न नसकेकाले नयाँ मेसीन जडानको काम गरिएको हो। चालीस वर्ष पुराना मेसिनका कारण पानी तान्दातान्दै समेत बिग्रने अवस्था आउने गरेकाले यसलाई परिवर्तन गरिएको हो। नारायणी लिफ्ट सिँचाइ सञ्चालनमा आएसँगै नारायणपुर, कैलाशनगर, पारसनगर, फूलबारी, शिवनगर, गितानगर, पार्वतीपुरलगायतका क्षेत्रमा सिँचाइ हुने गर्दछ। विसं २०४० मा निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको नारायणी लिफ्ट सिँचाइ आयोजनाबाट चार हजार सात सय हेक्टर क्षेत्रफल सिँचाइ हुने गर्दछ। नारायणी नदीको लिफ्टिङ गरेर पानी निकाली नहरमा पठाइन्छ। जसबाट २५ हजार घरधुरी लाभान्वित हुने गरेका छन्। पानी समयमा छोड्न नसक्दा ती कृषक मर्कामा परेका छन्। नारायणी लिफ्टमा रहेका चार पम्पमध्ये दुई वटाबाट दुई घनमिटर प्रतिसेकेण्ड र दुईवटा पम्पबाट चार घनमिटर प्रतिसेकेण्ड पानी तान्ने क्षमता रहेको छ। यस्तै खगेरी सिँचाइबाट असार १५ गतेदेखि नहरमा पानी छोडिएको छ। अहिले यस नहरको दुई क्यानलबाट पानीको पठाइएको उनले जानकारी दिए। लामो समय खडेरी पर्दा खोलामा पानी नभएका कारण सो नहरबाट समेत क्षमताअनुसारको पानी पठाउन नसकिएको कार्यालयले जनाएको छ। विसं २०२६ मा सञ्चालनमा आएको खगेरी सिँचाइ आयोजनाले तीन हजार नौ सय हेक्टर क्षेत्रफल सिञ्चित गर्दछ। खगेरी खोला, ताल र घोलबाट आएको पानीलाई संकलन गरी नहरमा पठाइने गरिएको छ। यसबाट १५ हजार परिवार लाभान्वित भएका छन्। – रासस
बेँसीसहर-चामे सडक अवरुद्ध लमजुङ। पहाडी जिल्ला लमजुङ र हिमाली जिल्ला मनाङ जोड्ने एकमात्र बेँसीसहर-चामे सडक आजदेखि दुई बन्द हुने भएको छ। यस सखडकखण्डको तिमाङ पावर हाउस खोलाको काठे पुल र स्यार्कु खोलाको काठे पुल भाँचिएकाले काठेपुल निर्माणका लागि आज बिहान १० बजेदेखि भोलि साँझ ५ बजेसम्मको लागि सडक बन्द हुने डुम्रे बेँसीसहर–चामे सडक योजना कार्यालयले जनाएको छ। बेँसीसहर चामे सडकखण्ड अन्तर्गत मनाङको चामे गाउँपालिका-१ स्थित तिमाङ पावर हाउस खोलाको काठे पुल र वडा नं २ स्थित स्यार्कु खोलाको काठे पुल गरी दुई ठाउँमा काठेपुल निर्माण गर्न लागेको र सो स्थानमा वैकल्पिक सडक नभएकाले सडक बन्द गरिएको डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालयका इन्जिनियर सुमन अधिकारीले बताए। उनले भने, “उक्त दुई स्थानमै दुई वर्षअघि काठे पुल निर्मापण गरेका थियौँ, अहिले पुलमा राखिएको काठ जीर्ण हुँदै गएको र लोड भएका सवारी साधनसमेत गुड्ने भएकाले कुनै क्षति नहोस् भनेर पुराना काठ हटाएर नयाँ राखेर निर्माण गर्न लागेका छौँ। समयमै जीर्ण पुल मर्मत गर्नसकेमा कुनै मानवीय तथा भौतिक क्षति नहुने भएकाले तत्काल नयाँ पुल निर्माण गर्न लागेको उनको भनाइ छ। उनका अनुसार तिमाङ खोलाको काठे पुल यसअघि सात मिटर रहेकोमा लम्बाइ नौ मिटर र चौडाइ साढे चार मिटर मिटरको बन्ने भएको छ। त्यस्तै, स्यार्कु खोलामा सात मिटर लम्बाइ र चार मिटर चौडाइको काठे पुल निर्माण हुने बताइएको छ। पुल निर्माणको लागि मंगलबारबाटै रुख काट्ने, पुलको लागि फलेक बनाउनेलगायतका काम हुँदै आएको डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालयका इन्जिनियर अधिकारीले बताए। सो स्थानमा सवारी साधनलाई धेरै जोखिम हुँदै आएपछि मर्मतका लागि मनाङको जिल्ला प्रशासन कार्यालयलाई दुई दिनको लागि सडक बन्द गर्न सूचना प्रकाशित गर्न अनुरोध गरेर प्रशासनले समेत बुधबार सूचना जारी गर्दै सडक बन्द हुने ब्यहोरा जानकारी दिएको उनको भनाइ छ। मनाङलाई सडक सञ्जालमा जोड्ने सरकारको योजनाअनुरुप विसं २०५१ बाट सडक डिभिजन कार्यालय दमौली तनहुँले बेँसीसहर चामे सडक निर्माण अघि बढाएको थियो तर पछि जनयुद्ध र अन्य विविध कारणले तत्कालीन नेपाली सेनाले उक्त सडक विसं २०५७ बाट सडक अघि बढाउने पुनः जिम्मेवारी प्राप्त गर्‍यो। तत्कालीन नेपाली सेनाले शान्ति प्रक्रियपछि मात्र सडक निर्माणलाई निरन्तरता दिँदै बाँदर लड्लाजस्तो जोखिमपूर्ण भीरमा ज्यानको बाजी राख्दै विसं २०६९ मा सडक निर्माण सम्पन्न गर्दै सडक डिभिजन कार्यालय दमौलीलाई हस्तान्तरण गरेको थियो। तत्कालीन कार्य गणका इन्जिनियर भरत श्रेष्ठ र इन्द्रिबर गुरुङको नेतृत्वमा सडक सम्पन्न गर्दै हस्तान्तरण गरेयता सडक भने जीर्ण बन्दै गएको छ। यस सडक ६५ किलोमिटरमध्ये लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलोमिटर रहेको छ । यस सडक जीर्ण वा बन्द हुँदा प्रत्यक्ष वा बढी मनाङवासीलाई मर्का पर्दै आएको छ। रासस
भोटेकोशी किनारमा एक्कासि बढ्यो पानीको बहाव, सावधानी रहन आग्रह रसुवा। भोटेकोशी नदीमा पानीको बहाव एक्कासि बढ्दै गएकाले पूर्वसावधानी अपनाउन रसुवा प्रहरीले अनुरोध गरेको छ । जिल्ला प्रहरी प्रमुख सुवाष बुढाथोकीका अनुसार तिब्बतदेखि प्रवाह भई रसुवागढीबाट नेपाल भित्रिने भोटोकोशीमा आज अपराह्नदेखि पानीको बहाव ह्वात्तै बढेकाले नदी किनारका आसपासमा बसोबास गर्ने बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरिएको हो । अहिले भोटोकोशी खोलाको बाढी स्याफ्रुबेँसीबाट तल झरेको बताइएको छ । बेत्रावती तथा मैलुङ क्षेत्रका नदी आसपासका बासिन्दालाई माइकिङद्वारा सूचना प्रवाह भइरहेको प्रहरी प्रमुख बुढाथोकीले जानकारी दिए। मातहतका सबै प्रहरी चौकीमार्फत सतर्कता अपनाउने कार्य भइरहेको जानकारी दिँदै रसुवाका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बाढीबाट हुनसक्ने असरबाट सबैजना सुरक्षित रहन र सुरक्षित गराउन अनुरोध गरिएको बताए।
कार्यालय प्रमुखलाई लुम्बिनीका मुख्यमन्त्रीको निर्देशन- एक्सन प्लानमा काम गर्नुहोस् दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले कार्य योजनामार्फत विकासका काम गनुपर्ने बताएका छन् । प्रदेश सरकार अन्तगत दाङ जिल्लामा रहेका कार्यालय प्रमुखलाई कार्ययोजना बनाएर कार्य सम्पादन गर्ने निर्देशनसमेत दिएका छन् । दाङ जिल्लाका कार्यालय प्रमुखलाई निर्देशन दिँदै मुख्यमन्त्री चौधरीले जनताले प्रत्यक्षरुपमा अनुभूतिगर्ने गरि विकास निर्माणका काम गर्न र ती काम कार्यालयले कार्ययोजना बनाएर मात्र सञ्चालन गर्न आग्रह गरे । ु‘विकास र समृद्धिका लार्गि एक्सन प्लान’ बनाएर काम गरौं,’ मुख्यमन्त्री चौधरीले भने, ‘जसले परिणाम राम्रो र उत्कृष्ट दिन सकोस् ।’ उनले काम गर्दा अलमल गर्ने, ढिला सुस्ती गर्ने काम बन्द गर्न र जनताको आबश्यता अनुसार त्यो पनि उत्पादन मुलक काममा ध्यान दिन निर्देशन गरे । बुधबार दाङको घोराहीमा भएको कार्यक्रममा मुख्यमन्त्री चौधरीले कार्यालयको कार्य सम्पादन प्रभावकारी बनाउन आग्रह समेत गरे । जनताको नजिकको सरकार जिल्लागत कार्यालयह भएको भन्दै त्यो अनुसारको सेवा प्रवाह र कार्यसम्पादन हुनु पर्ने उनले बताए । मुख्यमन्त्री चौधरीले कार्यालयमा क्षेत्रगत कामको विभाजन गरि कार्यसम्पादन गर्न र आबश्यक जनशक्तिलाई समेत त्यहि अनुसार व्यवस्थापन गर्न निर्देशन दिए । उनले हरेक योजना उत्पादन र रोजगारसंग जोड्नु पर्ने बताए । कार्यालय प्रमुखहरूले आर्थिक वर्ष २०७९/२०८०को प्रगति प्रतिवेदन र आर्थिक वर्ष २०८०/०८१ योजनाको विषयमा जानकारी गराएका थिए । उनीहरुले साना योजनाहर धेरै भएको हुदा कार्यान्वयनमा समेत समस्या रहेको र कार्यान्वयनका लागि प्राविधिक जनशक्ति सकेत कम रहेको बताएका थिए । उनीहरूले चालु आर्थिक वर्षमा सन्तोष जनक प्रगति रहेको जानकारी गराएका थिए । जिल्लामा पूर्वाधारका कामहरुको प्रगति ८० प्रतिसत माथि रहेको जानकराी गराइएको थियो । खानेपानीका केही पुराना योजना आर्थिक अभावका कारण पुरा हुन नसकेको जानकारी गराइएको थियो । भने कृषि र भेटेनरी कार्यालयका योजनाहरू रोजगारसँग जोडन सकिने बताइएको थियो ।
सीमान्त जोगबनी बजारका कारण घट्दै विराटनगरको व्यापार टङ्कीसिनवारी। अधिकांश नेपाली उपभोक्ताले भारतको विहार राज्यमा पर्ने सीमान्त जोगबनी बजारमा गई किनमेल गर्ने गरेका कारण विराटनगर र आसपासको व्यापार घटेको छ । जोगबनी बजारबाट सामान किनेर ल्याउँदा नेपालतर्फको भन्सार नाकामा खासै रोकतोक छैन । रोकतोक नहुँदा र सस्तोमा सामान पाइने भन्दै स्थानीय उपभोक्ता सीमान्त जोगबनी बजारमा किनमेल गर्न लालायित हुने गरेका छन् । नेपाली उपभोक्ताका कारण नै सो बजार गुलजार बनेको हो । स्थानीय उपभोक्ताको जोगबनी मोहका कारण स्थानीय कारोबारमाथि असर पुगेको महसुस हुन थालेको छ । विराटनगर र आसपासका कतिपय पसलमा बिक्रीका लागि भगवान्को पुकारा गर्नुपर्ने अवस्था छ । पसल खोलेर घण्टौँ पर्खंदासमेत ग्राहक नआउने स्थिति छ । पसलको बिक्रीबट्टा घट्दा कतिपय व्यवसायीलाई पसलको भाडा, कर्मचारीको तलब तिर्न गाह्रो छ । बेला–बेलामा स्थानीय व्यवसायीले सीमा नाकामा कडाइ गरी स्थानीय व्यापारलाई प्रवर्द्धन र संरक्षण गर्नुपर्ने भनी आवाज उठाउँदा पनि समस्याको हल हुन सकेको छैन । गिर्दो व्यापारका कारण विराटनगरमा कैयौँ सटर पसल भाडामा खाली छन् । विराटनगर र आसपासका बजार चलायमान बन्न नसकेपछि कतिपय व्यवसायीले नचाहेर पनि वैकल्पिक बाटो रोज्नुपर्ने बाध्यता आइपरेको छ । सगरमाथा फेन्सी पसलका सञ्चालक अम्बर कटुवालले जोगबनी बजारका कारण स्थानीय व्यापार धरासायी बन्दै गएको बताए। उनले भने, “आम उपभोक्तामा जोगबनी मोह छ । त्यहाँ सामान सस्तो पाइन्छ भन्ने धारणा छ, त्यो सही होइन । जोगबनीका सामानको गुणवत्ता र तौलमा तलमाथि हुने गरेको छ र पसल सञ्चालकको व्यवहार पनि रुखो हुने गरेको छ ।” क्वालिटी किराना पसलका सञ्चालक कमलकुमार अग्रवालले विराटनगरका कतिपय पसलमा बिक्री नहुँदा कर्मचारी कटौती गर्नुपरेको गुनासो गरे । उनले पसलको भाडा तिर्न व्यवसायीलाई अप्ठ्यारो स्थिति आइपरेको गुनासो गरे । अग्रवालले भने, “विराटनगर बजार सुनसानझैँ लाग्छ । उपभोक्ताको खासै चहलपहल छैन । तत्कालका लागि चाहिने सामानमात्र उपभोक्ताले स्थानीय बजारबाट खरिद गरिहाले पनि नुनदेखि सुनसम्मको खरिदका लागि सीमान्त जोगबनी बजार जाने चलनले जरा गाडेको छ ।” अग्रवालले स्थानीय बजारलाई डुब्नबाट बचाउन तीनै तहका सरकारले उपभोक्तालाई सहुलियत हुने नीति ल्याउन आवश्यक रहेको बताए । मोरङ व्यापार सङ्घका अध्यक्ष नवीन रिजालले अत्यावश्यक उपभोग्य वस्तुको आयात भन्सार दरलाई परिमार्जित गरी सहुलियत दिइएको खण्डमा त्यस्ता वस्तु सस्तो पर्ने र सीमान्त क्षेत्रका नेपालतर्फको बजारको प्रवर्द्धन हुने बताए। उनले भने, “जोगबनीमा दैनिक १० करोडभन्दा बढीको कारोबार हुने गरेको छ । जोगबनी बजार नेपाली उपभोक्तामा निर्भर छ । जोगबनी बजारबाट ल्याइएका सामानको गुणवत्ता र तौलमा शङ्का गर्ने ठाउँ रहन्छ ।” उनले ९० प्रतिशत जोगबनी र १० प्रतिशत विराटनगर र आसपासका बजारमा कारोबार हुने गरेको बताए। सीमान्त जोगबनी वा भारतका अन्य स्थानबाट नेपाल ल्याइने रु एक सयभन्दा बढीको सामानमा भन्सार कर अनिवार्य लाग्ने व्यवस्थाको कडाइका साथ लागू गरिए आम उपभोक्ताले स्थानीय बजारबाटै किनमेल गर्ने अध्यक्ष रिजालले बताए । उद्योग सङ्गठनका वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठीले सीमा नाकामा कडाइ नगरुञ्जेल स्थानीय उद्योग र व्यापार नफस्टाउने बताए। उनले भने, “उपभोक्ता चिनी किन्न भनेर सीमान्त भारतको जोगबनी जाने अनि खुकुलो सीमा नाकाको फाइदा उठाउँदै त्यतैबाट चिनीसँगै तेल घ्यू, लत्ताकपडा लिएर आउने हुनाले स्थानीय उत्पादन र व्यवसायमा सङ्कट आउन थालेको छ ।” राठीले सीमान्त क्षेत्रमा हुने तस्करी र जोगबनी गई किनमेल गर्ने उपभोक्ताको बानीलाई नियन्त्रण गर्नसके विराटनगर र आसपासका बजार चलायमान हुने बताए। यसैबीच स्थानीय बजारको प्रवर्द्धनका लागि आगामी साउन १ गतेदेखि विराटनगर भन्सार नाका कडा पारिने निर्णय गरिएको छ । अब जुनसुकै प्रायोजनका लागि जोगबनी बजारबाट पैठारी गरिने मालवस्तुमा भन्सार कर लगाइने छ । विराटनगर महानगरपालिकामा मङ्गलबार सरोकारवालाबीचको छलफलमा राजस्व परिचालन र स्थानीय बजारलाई चलायमान बनाउन विराटनगर भन्सार नाकालाई कडा पारिने निर्णय लिइएको हो । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला, जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र यादव, जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेल, सशस्त्र प्रहरी उपरीक्षक तीर्थबहादुर थापा, आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख डा डिबी क्षेत्री र विराटनगर भन्सार कार्यालयका प्रमुख ज्ञानेन्द्रराज ढकालले स्थानीय बजारको खरिददारीले अर्थतन्त्रलाई टेवा पुग्ने बताए । उनीहरूले भन्सार नाकामा कडिकडाउ गर्दै उपभोक्तालाई स्थानीय बजारमा किन्न प्रोत्साहन गर्नुपर्नेमा जोड दिए। – अनुज सापकोटा\रासस
वर्षायामसँगै सुनसान बन्दै अन्नपूर्ण पदमार्ग पर्वत । विश्वमै पदयात्राका लागि ख्याति कमाएको राउण्ड अन्नपूर्ण क्षेत्र वर्षायामसँगै सुनसान बन्दै गएको छ । तीन साताअघिसम्म पर्यटकले भरिभराउ हुने विश्वकै १० उत्कृष्ट पदमार्गमा पर्ने यस क्षेत्रमा अहिले पर्यटकको सङ्ख्या ह्वात्तै घटेको स्थानीय व्यवसायीहरु बताउँछन् । केही हप्ताअघिसम्म दैनिक दुई सयभन्दा बढी पर्यटक आउने गरेकामा बर्खा सुरु भएयता ह्वात्तै पर्यटक घटेर पदमार्ग सुनसान बनेको पर्यटन व्यवसायी दुर्गादेवी भण्डारीले बताइन् । कोरोना सङ्क्रमण र चिसो मौसमपश्चात फस्टाउन थालेको पर्यटन क्षेत्र पुनःवर्षायाम सँगै समस्यामा परेको हो । विदेशी पर्यटक यतिबेला फाट्टफुट्ट आउने गरेको भण्डारीले बताइन् । व्यवसाय चलायमान हुँदै जाँदा बर्खाका कारण पुनःपर्यटक घटेकाले पदमार्ग सुनसान भएसँगै आफू मात्र नभई यस क्षेत्रमा रहेका पर्यटन व्यवसायी निराश भएको उनको भनाइ छ । अब ‘अफसिजन’ सुरु भयो भण्डारीले भनिन्, “भदौ अन्तिम सातादेखि पुनःचहलपहल सुरु हुन्छ ।” यस पदमार्ग आसपासमा सयौँ सङ्ख्यामा होटल व्यवसाय सञ्चालनमा रहेका छन् । विदेशी पर्यटक हिमाल र पहाडका दृश्य, उच्च पहाड, प्राकृतिक सुन्दरता हेर्न र कास्कीको नयाँ पुलदेखि वीरेठाँटी हुँदै घान्द्रुक–घारेपानी–मुस्ताङ, मुक्तिनाथबाट थोराङ भञ्ज्याङ उक्लेर मनाङ हुँदै लमजुङ जान अन्नपूर्ण पदमार्गमा आउँछन् । मुस्ताङ र मनाङका विभिन्न हिमाल तथा चुली चढ्न तथा हेर्न पर्यटक भित्रिन्छन् । बर्खा लागेकाले अफसिजन भएको र दृश्य पनि राम्रो नदेखिने तथा बर्खामा बाटो हिँड्न समस्या हुनेलगायत कारण पर्यटकको आगमन ह्वात्तै घटेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) वीरेठाँटीका प्रमुख युक्त गुरुङले जानकारी दिए । पर्यटक नआउँदा पर्यटन व्यवसायीमात्र नभई आफू पनि फुर्सदिलो बन्न पुगेको पर्यटक प्रहरी शन्तलाल कोहारले बताए । बर्खा लागेसँगै पर्यटकको सङ्ख्या ह्वात्तै घटेको छ । एक जना पर्यटकले कम्तीमा पाँच दिनदेखि बढीमा १४ दिनसम्म यस क्षेत्रमा बिताउने तथा दैनिक पाँच सय डलरभन्दा बढी खर्च गर्ने गरेको पर्यटक गाइड पासाङ दावा शेर्पाले बताए । बर्सेनि हजारौँ आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण मानिने यस क्षेत्रमा कोरोना सङ्क्रमणपछि यस वर्ष बढी पर्यटकको चहलपहल बढेको थियो । भर्खरै मात्र पर्यटक आउन सुरु गरे पनि पुनःवर्ष सुरु भएपछि भने सुनसान बनेको र व्यापार व्यवसाय पनि ह्वात्तै घटेकोे व्यवसायी कमला गुरुङ बताउँछिन् । राउण्ड अन्नपूर्ण क्षेत्रको प्रवेशद्वार रहेको नयाँपुलबाट सयौँ आन्तरिक तथा बाह्य पर्यटक कास्कीको घान्द्रुक, म्याग्दीको घोरेपानी, पुनहिल, अन्नपूर्ण बेसक्याम्प लगायतका क्षेत्रमा जाने गरेका छन् । यस क्षेत्रमा पर्यटकका लागि सेप्टेम्बर, अक्टोबर र नोभेम्बर महिना सबैभन्दा उत्तम मौसम मानिन्छ भने अन्य समयमा पनि विदेशी पर्यटक आउने गर्दछन् ।
बालेनद्वारा प्रधानमन्त्री पत्नी सीता दाहालप्रति श्रद्धाञ्जली अर्पण काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनमा शोक व्यक्त गर्दै मृतात्माप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् । उनले बुधबार साँझ सामाजिक सञ्जालमार्फत भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले आमा गुमाएको र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहयात्री गुमाएको भन्दै सीताप्रति श्रद्धाञ्जलि अर्पण गरेका हुन् । उनले लेखेका छन्, ‘मेयर रेणु दाहालजीले ममतामयी आमा गुमाउनुको पीडाप्रति हार्दिक समवेदना प्रकट गर्छु । सम्माननिय प्रधानमन्त्री समेत रहनु भएका तपाईंका पिताले सहयात्री, जिवनसंगी गुमाउनु भएको अवस्थामा तपाईंले परिवारमा अभिभावकत्व ग्रहण गर्दै सबैलाई सम्हाल्न सक्ने क्षमता प्राप्त होस् भन्ने कामना गर्दछु । साथै, स्वर्गीय सीता दाहालप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु ।’
ठगी गरेको आरोपमा उदयपुरबाट सात जना पक्राउ उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले ठगी गरेको आरोपमा सात जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरले बुधबार पत्रकार सम्मेलन गर्दै उपहार, हुण्डी, तथा विदेशी विनिमय अन्तरगर्तका कारोबारमा ठगी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरि सार्वजनिक गरेको हो । विभिन्न प्रलोभन देखाई समाजिक संजालमा विदेशबाट उपहार आएको छ, भन्दै एयरपोटमा कर तिर्न पर्ने भएकोले रकम पठाउन लगाइ ठगि गरेको आरोपमा बिराटनगर महानगरपालिका २० का हेमराज साह, सप्तरी विष्णुपुर गाउँपालिका २ का निरजकुमार साह, झापा जिल्लाको झापा गाउँपालिका १ का बरजहान सेखलार्य पक्राउ परेका हुन् । त्यसै गरी पक्राउ पर्नेहरुमा गुल्मी जिल्लाको इस्मा गाउपालिका ५ का ध्रुब थापा, बारा जिल्ला कलैया उपमहानगरपालिका २० का फुल मोहमद मियिा धुनिया, सप्तरी जिल्ला राजविराज नगरपालिका १ का डम्बर साह रहेको प्रहरीले जनाएको छ । पत्रकार सम्मेलनमा ईलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायव उपरिक्षक रबिन कार्कीले घटनामा प्रहरीले सुक्ष्म अनुसन्धान गरी ठगि गर्ने गिरोहहरु पक्राउ गर्न सफल भएको बताए । पछिल्लो समय समाजिक संजाल तथा मोवाईल कल गरेर चिठ्ठा पर्याे भनेर ठगी गर्ने गिरोह सक्रिय भई रहेको बेला उदयपुर प्रहरीले सात जनालाई पक्राउ गरि कार्वाही प्रक्रिया अघि बढाएको हो । पक्राउ परेका सातै जनालाई नै जिल्ला अदालतबाट संठठित अपराध सम्बन्धी कसुर, मुलुकी अपराध संहिता २०७४ को ठगी, अपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धि कसुरमा अनुसन्धान सुरु गरिरहेको प्रहरीले जनाएको छ ।
रेडक्रस सोसाइटीको निर्वाचन तत्काल गर्ने वातावरण बनाउनुपर्ने भन्दै काठमाडौंमा प्रदर्शन काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको निर्वाचन तत्काल गर्ने वातावरण बनाउनुपर्ने भन्दै काठमाडौंमा प्रदर्शन गरिएको छ । उच्च अदालत पाटनले असार २७ र २८ गते गर्ने भनिएको निर्वाचन रोक्न आदेश दिएपछि निर्वाचनमा सहभागी हुन विभिन्न जिल्लाबाट काठमाडौं आएका प्रतिनिधिहरुले निर्वाचन तत्काल गर्ने वातावरण बनाउनुपर्ने भन्दै काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले मानवीयको रक्षा गरौ, रेडक्रसमा गैर रेडक्रसको अनावश्यक हस्तक्षेप बन्द गर, तत्काल निर्वाचनको सुनिश्चितता गर लगाएका प्लेकार्ड प्रदर्शन गरेका थिए । उनीहरुले सात प्रदेश समिति र ७६ जिल्ला शाखाहरुबाट प्रतिनिधि छनौट भई काठमाडौं आइसकेको अवस्थामा अन्तिम समयमा अदालतका आदेशका कारण निर्वाचन रोकिनुले श्रावण महिनादेखि सोसाईटीले देश भर प्रदान गर्ने सेवा पूर्ण रुपमा बन्द हुने अवस्थामा पुगेको बताएका छन् । यसअघि जिल्ला प्रशासन कार्यालय काठमाडौंले रेडक्रस प्रशासनको आग्रहमा पत्र लेखेर निर्वाचन गर्न अनुमति दिएको थियो । प्रशासनको पत्रअनुसार निर्वाचन गर्ने तयारी भएपनि रेडक्रसका आजीवन सदस्य ईश्वरीप्रसाद दाहालले निर्वाचनविरुद्ध उच्च अदालत पाटनमा रिट दायर गरेका थिए ।
जथाभावी फोहर फ्याक्नेलाई जरिवाना तिराउँदै वीरगञ्ज महानगर वीरगञ्ज। वीरगञ्ज महानगरपालिकाले नगरक्षेत्रभित्र जथाभावी फोहर फ्याक्नेसँग जरिवानाबापत राजस्व संकलन गर्ने अभियान थालेको छ । जथाभावी फोहर फ्याक्ने र सडक दुर्गन्धित गर्ने कार्यलाई निरुत्साहित गर्ने उद्देश्यले महानगरले विसं २०७९ पुस १७ देखि जथाभावी फोहर फ्याक्नेबाट जरिवाना तिराउन थालेको हो । महानगरका सडक तथा गल्लीमा जथाभावी फोहर फाल्ने व्यक्ति तथा संस्था गरी पाँच सय ७० जनाबाट जरिवानाबापत रू चौध लाख ९५ हजार दुई सय पाँच राजस्व सङ्कलन भएको महानगरपालिकाको सरसफाइ शाखा प्रमुख सरफदिन मियाँले जानकारी दिए। स्वच्छ, सफा र सुन्दर महानगर बनाउने उद्देश्यले महानगरले गत पुसदेखि जथाभावी फोहर फ्याक्नेसँग जरिवानाबापत राजस्व सङ्कलन अभियान थालेयता नियमित राजस्व संकलन गर्दै आएको उनले बताए। “घर, पसल र कार्यालयबाट निष्किने फोहर जताततै फ्याक्ने स्थानीयको प्रवृति छ”, प्रमुख मियाँले भने, “त्यस्तो प्रवृतिलाई निरुत्साहित गर्न हामीले फोहर फ्याक्नेलाई जरिवाना गर्ने अभियान सुरु गरेका छौँ ।” यस अभियानलाई थप प्रभावकारी बनाउन सार्वजनिक मुद्दासमेत चलाउने योजना बनाइएको उनले जानकारी दिए। प्रमुख मियाँका अनुसार महानगरले निजी संस्थासँग सहकार्य गरी ३२ वटै वडाभित्र तीन चरणमा नियमित सरसफाइ गर्दै आएको छ । महानगरपालिकाले वीरगञ्जस्थित पृथी तारा एमके इनरनेशनल जेभिसँग विसं २०७६ जेठ २ मा सम्झौता गरी नियमित सरसफाई गर्दै आएको उनको भनाइ थियो । “महानगर प्रमुखको योजना अनुरुप सफा र सुन्दर वीरगञ्ज नगरबासीलाई दिने गरी काम गरिरहेका छौँ”, प्रमुख मियाँले भने, “उक्त योजना अनुसार अहिले बिहान, दिउँसो र राति गरी तीन चरणमा नाला तथा सडक सरसफाइ भइरहेको छ ।” उहाँका अनुसार नालाको सफाइ महानगरले गरिरहेको छ भने सडकको सफाइ साझेदार संस्था पृथी ताराले गरिरहेको छ । “पहिला महानगरसँग नाला सफाइ गर्न लागि एउटा ‘जेटिङ मेसिन’ र एउटा ‘सक्सन मेसिन’ थियो”, शाखा प्रमुख मियाँले भने, “अहिले थप एउटारएउटा मेसिन खरिद गरी नाला सरसफाइ अभियानलाई तीव्रता दिएका छौँ ।” साइरण जडित ट्याक्टर फोहरमैला व्यवस्थापनका लागि सञ्चालन गरिएको उनको भनाइ थियो। विगतमा महानगरसँग डम्पीङ साइड नहुँदा फोहरमैला व्यवस्थापनमा समस्या भएको जनाउँदै प्रमुख मियाँले चार वर्षअघि डम्पिङ साइड निर्माण गरेपछि फोहरमैला व्यवस्थापनमा कुनै समस्या नरहेको बताए।
उपत्यकामा आठ लाख ७६ हजार सवारी साधन कारबाही काठमाडौँ। ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाभित्र सवारी नियम उल्लङ्घन गर्ने आठ लाख ७६ हजार एक सय ४१ सवारी साधनलाई कारबाही गरेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले चालु आर्थिक वर्षमा काठमाडौँ, भक्तपुर र ललितपुरमा ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनलाई कारबाही गरेको हो। कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनलाई कारबाही गरिएको जानकारी दिए। कारबाही गरिएकामध्ये लेनमा ३८ हजार तीन सय ६२, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने ५३ हजार ६४, रातोबत्ती बलेको बेला सवारी साधन चलाउने २८ हजार नौ सय ३२ सवारी साधन कारबाहीमा परेका छन्। यस्तै तीव्र गतिमा ५६ हजार पाँच सय २४, जथाभावी पार्किङ गर्ने एक लाख ३६ हजार ३९, आरक्षण सिट प्रयोग नगर्ने सात सय ३६, जथाभावी हर्न बजाउने १४ हजार चार सय ४७, लागूपदार्थ सेवन गरी सवारी साधन चलाउने एक सय ४८ र ओभरलोड प्रयोग गर्ने १६ हजार चार सय ८५ सवारी साधन रहेका छन्। उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट काठमाडौँ उपत्यकाको सवारी साधन व्यवस्थापनका लागि प्रहरी नायब महानिरीक्षक (डिआइजी)को नेतृत्वमा एक हजार आठ सय बढी ट्राफिक प्रहरी परिचालन गरिएको छ। हाल देशभर ३० लाखभन्दा बढी सवारी साधन सञ्चालनमा रहेका छन्। तीमध्ये काठमाडौँ उपत्यकामा मात्र १२ देखि १५ लाख सवारी साधन सञ्चालनमा रहेका छन्।
बालकको मृत्यु भएपछि मन्टेश्वरी बन्द, तीन पक्राउ झापा। सेप्टिक ट्यांकीमा डुबेर बालकको मृत्यु भएपछि मेचीनगर नगरपालिका-१० स्थित ‘सानो साथी किन्डर गार्टेन’ मन्टेश्वरीका सञ्चालकसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। सोमबार नर्सरीमा अध्ययनरत आठ वर्षे तान्छोपहाङ लिम्बूको मृत्यु भएपछि अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ। इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक दीपक भारतीका अनुसार पक्राउ पर्नेमा मेचीनगर-११ का ४५ वर्षीय मनोज गुरुङ र ३५ वर्षीया रमा सुनार र मेचीनगर–१० की २४ वर्षीया अनिसा पोखरेल छन्। मन्टेश्वरीका सञ्चालक काठमाडौँ-३१ निवासी ४२ वर्षे सुरेन रसाइली भने फरार रहेको उनको भनाइ छ। मृतक बालकका बुबा खर्कबहादुर लिम्बू र आमा मेरिना लिम्बूले चार जनाविरुद्ध लिखित किटानी जाहेरीका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ परेका मनोज गुरुङ विद्यालयका प्रिन्सिपल हुन्। सेप्टिक ट्यांकीमा डुबेका बालकको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा उपचारका क्रममा मंगलबार मृत्यु भएको थियो। मृतकका आमा र बाबुले मन्टेस्वरीका सञ्चालक, व्यवस्थापक र कर्मचारी गरी चार जनामाथि ज्यान सम्बन्धी कसुरमा कानूनी कार्वाहीको माग गर्दै किटानी जाहेरी दिएका थिए। गुरुङ र रसाइली विद्यालयका साझेदार हुन् भने पोखरेलले संयोजक र सुनार कर्मचारीका रुपमा काम गर्दै आएका थिए। बालकको शव हाल बीएन्डसी अस्पतालमै राखिएको छ। – रासस
एक लाख घुससहित लेखा अधिकृत पक्राउ लहान। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहास्थित सडक डिभिजन कार्यालय लहानका लेखा अधिकृत पदम विनोद पोखरेललाई  एक लाख रुपैयाँ घुस रकमसहित पक्राउ गरेको छ। अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको टोलीले मंगलबार साँझ कार्यालयमा छापा मारी पोखरेललाई घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिएको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए। सडक निर्माणको अन्तिम बिल भुक्तानी दिने प्रयोजनका लागि उनले घुस मागेको पाइएको छ। पोखरेल भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सडक विभाग संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय दमकअन्तर्गत सडक डिभिजन लहानका लेखा अधिकृत हुन्। अख्तियारले उनीमाथि थप अनुसन्धान अघि बढाएको छ।
पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ अन्नपूर्ण (कास्की)। माथि हिमाल। तल पोखरा उपत्यका। थुम्कोमा अर्मलाकोट गाउँ। धेरै ढुंगाले बान्की मिलाएर छाएको छानो त केही जस्तापाताले छाइएका घर। ढुंगाकै गारो, ढुंगाकै बाटोले गाउँको पहिचान दिलाउँछ। शान्त वातावरण, स्वच्छ हावापानीले धेरैको मन फुरुङ हुन्छ। पोखरा महानगरपालिका–१६ अर्मलाकोट प्राकृतिक सुन्दरताले भरिपूर्ण छ। पोखरा सहरबाट १२ किलोमिटर टाढा रहेको अर्मलाकोट पछिल्लो समय पर्यटक र पैदलयात्रीको रोजाइमा पर्ने गरेको छ। दिनप्रतिदिन यहाँ घुम्न पुग्नेको सङ्ख्या बढिरहेको छ। परम्परागतरूपमा बनेका घर, यहाँ बस्ने गुरुङ र दलित समुदायको बोलीचाली तथा सरल व्यवहारले आगन्तुकलाई स्वागत गरिरहेको छ। विसं २०७५ मा होमस्टे सञ्चालनमा आएपछि गाउँमा छुट्टै रौनक भेटिन्छ। गाउँले जनजीवन, आफ्नै रहनसहन र परम्पराले भरिएको भए पनि अर्मलाकोट गाउँको आकर्षक भनेको ढुंगेघर नै हो। घरका झ्याल र ढोकामा कलात्मक शैलीमा कुँदिएका फूलबुट्टा तथा आकृतिले पर्यटकलाई झनै मोहित बनाउँछ। यहाँ पुग्ने पर्यटक गाउँको ढुंगेघरले मन लोभ्याएको बताउँछन्। गत शनिबार स्याङ्जाका अर्मलाकोट घुम्न पुगेका किसन गुरुङले यहाँको घर देख्दा मनै फुरुङ्ग भएको बताए। “हाम्रोतिर भन्दा यहाँका घर निकै राम्रा लागे। पोखराबाट नजिकै यति राम्रो गाउँ देख्दा मनै रमायो”, उनले भने, “यहाँका स्थानीयको जनजीवन, रहनसहन र स्वागत सत्कारले यहीँ बसिरहन मन लाग्यो।” पछिल्लो समय अर्मलाकोटमा घुम्न आउने पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको अर्मलाकोट होमस्टेकी अध्यक्ष बबिता गुरुङले बताए। उनका अनुसार वर्षाको समय भए पनि पर्यटक गाउँ उक्लनेको सङ्ख्यामा कमी आएको छैन। बिदाका दिन अझ बढी पर्यटकको भीडभाड हुने अध्यक्ष गुरुङले सुनाए। “अहिले गाउँमा बर्खाको चटारो छ। पाहुनाहरू आउनुहुन्छ अनि काम सकेर उहाँहरूको स्वागतमा आउँछौँ”, उनले भने, “पानी परे पनि रुझेरै आउनुहुन्छ। वर्षात्को समयमा पनि पाहुनको कमी भएको छैन।” पोखराबाट नजिक भएकाले पैदलयात्रा गरेर पनि पर्यटक गाउँ पुग्ने गरेको होमस्टेकी सचिव झलश्री गुरुङले बताइन्। यसलाई गुरूङ भाषामा ‘ङ्होला नासा’ पनि भनिन्छ। महेन्द्रगुफाबाट करिब दुई घन्टाको पैदलयात्राबाट अर्मलाकोट पुग्न सकिन्छ। गाउँको सुन्दरतासँगै यहाँबाट सूर्योदय र सूर्यास्त, पोखरा उपत्यको अवलोकनका साथै हिउँ पर्ने समयमा हिउँसमेत खेल्न सकिने उनले बताइन्। हामस्टेमा कोदोको ढिडो, लोकल कुखुराको मासु, गुन्दु्रक, भट्टको अचार, सिस्नोका दाल, वर्षाको समयमा निउरो र टुसाको अचार तथा कोदोको रक्सीको स्वाद लिन सकिने उनले बताइन्। साँझ सांस्कृतिक कार्यक्रमको आनन्द लिन सकिन्छ। होमस्टेमा पुग्ने एकजना पाहुनावापत रु एक हजार एक सयको दररेट निर्धारण गरिएको होमस्टेका अध्यक्ष गुरुङले जानकारी दिए। उनका अनुसार यो प्याकेजमा बिहान–बेलुकी खाना र खाजा, बास बस्नसँगै सांस्कृतिक कार्यक्रम समावेश गरिएको छ। यहाँको कोसेलीको रूपमा मुलाको चना, गुन्द्रुक तथा सिजनअनुसार सिस्नो, निउरो, टुसा तथा भाङ्ग्रा लैजान सकिन्छ। गाउँसम्म पुग्ने बाटो कच्ची भएकाले पर्यटकलाई वर्षात्को समयमा समस्या हुने गरेको अध्यक्ष गुरुङले सुनाए। “होमस्टे सञ्चालनपछि पाहुना आउने कम भएको छैन। हामीले पनि सकेको स्वागत सत्कार गरिरहेका छौँ”, उनले भने, “वर्षाको समयमा आफ्नै साधन लिएर आउने पाहुनाले साह्रै दुःख पाउनुहुन्छ। यहाँ आउने बाटो कालोपत्र गर्न आवश्यक छ।”  रासस
महाकाली नदीको सतह बढेपछि स्थानीयवासी त्रसित खलङ्गा । भारतको उत्तराखण्ड प्रदेश पिथौरागढ जिल्लाको छिरकिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधको ढोका खोलेपछि महाकाली नदीमा पानीको सतह बढेको छ । आज बिहान ५ बजे खोलिएको बाँध बेलुकी ८ बजेसम्म खुला रहने हुँदा महाकाली नदी आसपास क्षेत्रमा नजान आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताए । उनले भने, “राति ८ बजेसम्मको अवधि र त्यसपछि पनि महाकाली नदीमा पानीको सतह बढ्ने भएकाले सतर्कता अपनाउन तथा नदी वारपार नगर्न आग्रह गरेका छौँ ।” महाकाली नदीमा पानीको सतह बढ्दा स्थानीयवासी त्रसित भएका छन् । सदरमुकाम खलङ्गाको रिङ्गलताल क्षेत्रमा तटबन्धको माथिल्लो भागमा पानीको बहाव पुगेपछि घर नै बगाउने हो कि भन्ने चिन्ता बढेको स्थानीय सगुन बोहराले बताए ।
हेलिकप्टर दुर्घटनामा परी ज्यान गुमाउनेप्रति मन्त्री किरातीद्वारा दुःख व्यक्त जनकपुरधाम । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सोलुखुम्बुमा मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परी ज्यान गुमाएकाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । जनकपुरधाममा आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले दुर्घटनामा ज्यान गुमाउनेप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै सोकसन्तप्त परिवारजमा समवेदना प्रकट गरे । उनले सरकारले दुर्घटनाको यथार्थ छानबिन गर्ने बताए । मन्त्री किरातीले आफू मन्त्रालयको जिम्मेवारीमा आइसकेपछि ‘सेफ्टी फस्ट’ को नीतिअनुसार नेपाली आकाशलाई सुरक्षित बनाउने काम गर्न सबैलाई आग्रह गरेको पनि बताए । “हुन त आकाशमा के हुन्छ भन्ने कुरा हाम्रो नियन्त्रणमा छैन । तथापि प्राविधिक तथा अन्य कारणले हुने दुर्घटनालाई रोक्न अधिकतम सतर्कता अपनाउनुपर्छ भन्ने सरकारको स्पष्ट नीति छ”, मन्त्री किरातीले भने । आज बिहान ९ः५२ बजे सोलुखुम्बुको सुर्केबाट काठमाडौँका लागि उडान भरेको कल साइन ९ एनए–एमभी भएको हेलिकप्टर बिहान १०ः१ बजे सम्पर्कविहीन भएकामा सोलुखुम्बुकै लिखुपिके गाउँपालिका–५ स्थित लाम्जुरापास क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । हेलिकप्टरमा सवार पाइटलसहित छ यात्रु सबैको मृत्यु भएको थियो । हेलिकप्टरमा पाँच जना मेक्सिकन नागरिक रहेका थिए ।
भानु जयन्तीमा गण्डकी सरकारले सार्वजनिक बिदा दिने पोखरा । भानु जयन्तीको अवसरमा गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ । शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा दिएको गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय उपसचिव शुरणप्रसाद शर्मा पौडेलले बताए । प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिइने बताइएको छ । नेपाली साहित्यका धरोहर आदिकवि भानुभक्त आचार्य तनहुँको चुँदी रम्घामा वि।सं। १८७१ आसार २९ गते जन्मिएका थिए । असार २९ गते देशभर भानु जयन्ती मनाउने गरिन्छ ।
ललिता निवास प्रकरणमा भूमि व्यवस्था विभागका पूर्वमहानिर्देशक श्रेष्ठ पक्राउ काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा भूमिसुधार तथा व्यवस्था विभागका पूर्वमहानिर्देशक रुद्रप्रसाद श्रेष्ठ पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले मंगलबार साँझ काठमाडौंबाट श्रेष्ठलाई पक्राउ गरेको हो । भूमि विभागमा शाखा अधिकृत छँदा श्रेष्ठले २०४९ सालमा सरकारी जग्गा व्यक्तिका नाममा हुने गरी हालसाविक गर्न टिप्पणी उठाएको पाइएको प्रहरीले जनाएको छ । पछि उनले महानिर्देशकबाट अवकाश पाएका थिए । श्रेष्ठले उठाएको टिप्पणीकै आधारमा तत्कालीन भोगाधिकारी सुवर्ण शमशेर राणाका परिवारले २०४९ सालमा ११२ रोपनी ४ आना जग्गा हडपेका थिए । ललिता निवास जग्गा प्रकरणमा मंगलबार नै तत्कालीन उपसचिव बालकृष्ण श्रेष्ठ पनि पक्राउ परिसकेका छन् ।
मधेश सरकारको अनियमित रकमान्तर छानबिन गर्न विशेष संसदीय छानबिन समिति गठन काठमाडौं । मधेश सरकारको आर्थिक वर्ष २०७९–०८०को बजेटमा भएको अनियमित रकमान्तरको विषयमा छानबिन गर्न विशेष संसदीय छानबिन समिति गठन गरिएको छ । सोमबार बसेको मधेश प्रदेशसभाको बैठकले प्रदेसशभामा प्रतिनिधित्व गर्ने १० वटै दलबाट एक–एकजना गरी १० सदस्य छानबिन समिति गठन गरेको हो । समितिमा नेकपा एमालेबाट दिपेन्द्रकुमार ठाकुर, नेपाली कांग्रेसबाट नागेन्द्रप्रसाद साह, जनता समाजवादी (जसपा)बाट राजकुमार गुप्ता, जनमत पार्टीबाट शम्भुप्रसाद साह, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट उपेन्द्र महतो, नेकपा माओवादी केन्द्रबाट जवाहर प्रसाद कुशवाहा, नेकपा एकीकृत समाजवादी पार्टीबाट कनिष पटेल छन् । यस्तै राष्ट्रिय प्रजातन्त्रपार्टीबाट कञ्चन विच्छा, नेपाल संघीय समाजवादी पार्टीबाट विमला अंसारी र नागरिक उन्मुक्ति पार्टीबाट उर्मिला देवी सिंह समितिमा सदस्य छन् । समितिका सदस्यले आफू मध्येबाट निर्वाचन प्रक्रियामार्फत संयोजक छान्ने छन् । साउन १ गतेदेखि समितिले छानबिन अगाडि बढाउने छ । काम थालेको दुई महिना भित्र समितिले प्रदेशसभामा छानबिन प्रतिवेदन बुझाउनु पर्ने छ । आज बसेको प्रदेशसभा बैठकबाट छानबिन समिति गठनको प्रस्ताव पास भएको छ ।
मनाङ एयरको दुर्घटनाग्रस्त हेलिकप्टरमा सवार ६ जनाकै शव भेटियो काठमाडौं । सोलुखुम्बुबाट काठमाडौ आउँदै गर्दा दुर्घटना भएको मनाङ एयरको हेलिकप्टरमा सवार ६ जनाकै शव भेटिएको छ । त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार ६ जनाकै मृत्यु भएको पुष्टि भएको छ । शवहरु संकलन गरी काठमाडौं ल्याउनका लागि तीन वटा हेलिकप्टर परिचालन गरिएको छ । दुर्घटनास्थलको मौसम प्रतिकूल भएका कारण उद्धारका लागि पुगेका दुई वटा हेलिकप्टर नजिकै भकान्जे भन्ने स्थानमा अवतरण भएको महाप्रबन्धक तिवारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । मनाङ एयरको ९एन–एएमभी हेलिकप्टरमा पाइलटसहित जम्मा ६ जना सवार थिए । यीमध्ये ५ जना मेक्सिकोका नागरिक थिए । पाइलट भने नेपाली सीबी गुरुङ थिए ।
तिलिचो ताल क्षेत्रबाट १५० किलो फोहोर संकलन मनाङ। अन्नपूर्ण पदमार्गअन्तर्गतको तिलिचो तालतर्फ आवतजावत गर्ने क्षेत्रमा सरसफाई गरिएको छ। फोहोरको मात्रा बढ्दै गएपछि मनाङ ङिस्याङ गाउँपालिका–९, खाङसारका होटेल व्यवसायी, अन्नपूर्ण संरक्षण क्षेत्र संरक्षण व्यवस्थापन समिति खाङसार, सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय हुम्दे र स्थानीयको सक्रियतामा फोहोर संकलन गरिएको हो । तालमा आवातजावतका क्रममा पर्यटकले फालेका एक सय ५० किलोग्राम फोहोर संकलन गरिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना मनाङका प्रमुख लेखनाथ गौतमले जानकारी दिए। कोभिड–१९ को संक्रमणपछि पछिल्लो समय यस पदमार्गमा पर्यटक बढेसँगै फोहोरमैलाको हुने क्रम बढेको उनको भनाइ छ। “विदेशीले आफैँ बोकेर फर्किन्छन् भने आन्तरिक पर्यटकले बढी फोहोरजन्य पदार्थ फाल्ने गरेको पाइएको छ”, गौतमले भने, “ताल जाने बाटोमा विभिन्न स्थानमा डम्पिङ साइट बनाइएको छ, तर फोहोरमैला भने यत्रतत्र फालिएको पाइयो।” पदमार्गमा धेरैजसो चाउचाउ, बिस्कुट, चकलेटका खोल र कोकाकोलाको बोतल भेटिएको उनले बताए। ती जथाभावी फालिएका फोहोरमैला डम्पिङ साइटमा व्यवस्थापन गरिएको उनले बताए। तिलिचो पदमार्गका विभिन्न स्थानमा यत्रतत्र छरिएर रहेका प्लास्टिकजन्य फोहोर संकलन गरिएको पर्यटन व्यवसायी एवं अन्नपूर्ण संरक्षण क्षेत्र संरक्षण व्यवस्थापन समिति खाङसारका सचिव टसी गुरुङले जानकारी दिए। उनका अनुसार उक्त मार्गअन्तर्गत नकुहिने फोहोरमैला मात्रा बढेकोले सरसफाई तथा व्यवस्थापन गरिएको हो। “यस पदमार्गमा पर्यटक बढ्दै जाँदा फोहोर पनि बढेको छ, यहाँको फोहोरमैला संकलन गरी व्यवस्थापन गर्दै आएका छौं”, उनले भने। विदेशी र स्वदेशी पर्यटकलाई आकर्षित गर्न अन्नपूर्ण पदमार्गअन्तर्गतको तिलिचो ताल क्षेत्रलाई सधैँ स्वच्छ र सफा राख्नु आवश्यक रहेको अध्यक्ष टसीले बताए। तीन दिनसम्म चलेको ‘पदमार्ग सफाइ’ अभियनमार्फत अन्नपूर्ण पदमार्गमा पानी तथा कोकाकोलाका बोतल, चाउचाउ र बिस्कुटका खोल ठूलो मात्रामा भेटिएको थियो। गौतमका अनुसार अन्नपूर्ण पदमार्गअन्तर्गत तिलिचो ताल जाने पदैलमार्गको खाङसारदेखि चार हजार नौ सय १९ मिटर उचाईमा रहेको तिलिचो तालको किनारमा सरसफाई गरिएको छ। पछिल्लो समय विश्वकै अग्लो स्थानमा रहेको तिलिचो ताल पदयात्रामा जाने स्वदेशी तथा विदेशी पर्यटकको भिड बढिरहेको छ। प्राकृतिक छटाले भरिएको तिलिचो ताल हिमश्रृङ्ला र निलगिरी हिमालको हिमनदीबाट निर्माण भएको हो। यस तालबाट अन्नपूर्ण हिमश्रृङ्खलाको मनोरम दृश्यावलोकन गर्नकै लागि यहाँ पर्यटकको भिड लाग्ने गरको छ। मनाङ पुगेका केही पर्यटक तिलिचो तालमा पुग्ने गरेका छन्। कतिपय पर्यटक तिलिचो ताल अवलोकन गरी फर्किएर खाङ्सार, थोराङला पास हुँदै जोमसोम निस्कने गर्दछन्। लमजुङको सदरमुकाम बेँसीसहरबाट सुरु हुने अन्नपूर्ण पदमार्गको यात्रा मनाङको सदरमुकाम चामे हुँदै थोराङपास गरी मुक्तिनाथको दर्शन, जोमसोम, बेनी अथवा घोरेपानीबाट पोखरा पुग्ने गर्दछन्। पदयात्राका सौखिन पर्यटक पाँच हजार चार सय १६ मिटरको थोराङ भञ्ज्याङ कट्दा आफूलाई भाग्यमानी ठान्ने गर्दछन्। अन्नपूर्ण पदमार्ग विश्वका १० उत्कृष्ट गन्तव्यमध्ये एक मानिन्छ। पदयात्राका लागि उपयुक्त मौसम सेप्टेम्बरदेखि नोभेम्बरसम्म र फेब्रुअरीदेखि अप्रिलसम्मको दुई समयलाई मानिन्छ।
दुर्गा प्रसाईंसँग धम्क्याएर २० करोड मागेको आरोपमा एकजना पक्राउ काठमाडौं। व्यवसायी दुर्गा प्रसाईंसँग धम्क्याएर २० करोड मागेको आरोपमा एकजना पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनसुन्धान ब्युरो (सीआईबी)ले व्यवसायी प्रसाईंसँग धम्क्याएर २० करोड रुपैयाँ मागेको आरोपमा रमेश गुरुङलाई पक्राउ गरेको हो। यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
रोकिएन ‘असारे विकास’ : जनप्रतिनिधिहरूले कार्यकर्ता पाल्नकै लागि गर्छन् असारमा विकास सिरहा। आर्थिक वर्षको अन्त्यमा हतारहतार बजेट सक्नेगरी हुने विकास निर्माण गर्ने ‘असारे विकास’ को बेथिति चालु आर्थिक वर्षमा पनि रोकिएन। स्थानीय तहहरूमा वर्षको ११ महिना सुस्ताए बसेका जनप्रतिनिधि र कर्मचारीहरूलाई आर्थिक वर्षको अन्त्यमा भ्याइनभ्याइ खर्च हुने प्रवृत्ति रोक्न नसक्दा चालु आर्थिक वर्षमा पनि असारे विकासले निरन्तरता पाएको हो। अपादर्शी ढंगले काम गर्न पल्केका स्थानीय जनप्रतिनिधिले अन्तिम समयमा स्थानीय उपभोक्तालाई दवावमा पारेर काम गर्न असार महिना रोज्ने गरेको आरोप लाग्ने गरेको छ। जनप्रतिनिधिले अन्तिममा काम गराउँदा स्थानीय उपभोक्तालाई ‘ठेक्केदारमार्फत् काम नगराए बजेट फ्रिज हुन्छ’ भन्दै कार्यकर्ता र आफन्तलाई जिम्मा लगाएर काम गर्न असारे विकास रोजेको बताइन्छ। स्थानीय कर्मचारी तथा उपभोक्ता समितिलाई प्रभावमा पारेर जनप्रनिधिहरूले नामकै लागि उपभोक्ता समिति गठन गरे पनि काम भने अन्तिम समयमा कार्यकर्ता र आफन्तमार्फत् धेरै पालिकाहरूले विकासक निर्माणका काम गराइरहेका छन्। यसको एउटा उदाहरण सिरहाको लहान लगरपालिकाका– १ मटियरवा देखि कृष्णा टोलसम्म गरीएको आरसीसी ढलान पनि हो। यस कार्यका लागि बेचु चौधरीको अध्यक्षतामा निर्माण उपभोक्ता समिति गठन भए पनि काम भने शम्भु चौधरीले गराएका थिए। नगरपालिकाले वडा नम्बर १ मटियरवादेखि कृष्णा टोलसम्म गरिएको आरसीसी ढलान र नाला निर्माणको लागि ६० लाखको विनियोजन गरेको थियो। आरसीसी ढलान, पक्की नाला तथा पीसीसी ढलान गरिएको साईड इन्जिनियर सुशील मन्डलले ‘छेदी चौधरीको घरदेखि पूर्व कपलेश्वर यादवको घरसम्म २ सय ८७ मिटर लम्बाइ र ६ मिटर चौडाइमा आरसीसी ढलान र १ सय २९ मिटर पक्की नाला निर्माण कार्य भर्खरै सम्पन्न भएको जनकारी दिए। उनले भने, ‘यो योजना आरसीसी ढलानकै थियो। पछि नाप जाँच गर्दा ६ मिटर चौडाइ गर्नुपर्नेमा कुनै ठाउँमा ४, ५ र कुनै ठाउँमा ६, ७ सम्म मात्रै पुगेकोले बाँकी रहेको रकमलाई फ्रिज नहुनदिन पीसीसी ढलान गरेको हो।’ उनले भने, ‘नाला निर्माण र आरसीसी गराउँदा एभरेजमा लम्बाइ र चौडाइ कम भएपछि करिब ९ लाख रुपैयाँ बराबरको क्वानटिटी घटियो । त्यसैलाई पुरानो बाटोमा ग्राभेल भएकै थियो । सोही बाटोमा पीसीसीको योजना नगरले बनायो।’ नाला निर्माण तथा सडक ढलानको लागि गरिएको बजेट विनियोजनमा व्यापक अनियमितता भएको स्थानीयहरू बताउछँन्। यो नगरपालिकामा करिब ४० प्रतिशत विकाश निर्माणको काम असारमा भएको स्रोतको दावी छ। नगरपालिकामा नगरप्रमुखले भनेकै कन्सट्रक्सनले ठेक्का पाउने र उनकै आसेपासेहरू उपभोक्ता समितिमा बस्न पाउने कार्य भइरहेको नाम नखोल्ने सर्तमा एकजना स्थानीयले जानाकारी दिए। नगरपालिका तथा गाउँपालिकाका जनप्रतिनिधिहरूले असारमा योजना ल्याउने पूर्व बनेको योजनालाई कार्यकर्तामुखी बनाउने तथा आफन्त र नजिककाहरूबाट काम गराउने प्रवृतिले पनि असारे विकासमा व्यापक अनियमितता भएको पुष्टि गर्छ।
फोहरबाट मल उत्पादन गर्दै मध्यविन्दु त्रिवेणी। फोहर व्यवस्थापन सहरी क्षेत्रका लागि चुनौती बन्ने गरेको छ। उचित व्यवस्थापन नहुँदा ठूला सहरले समस्या झेलिरहँदा नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिकाले भने फोहरबाट ‘कम्पोस्ट मल’ उत्पादन थालेको छ। मध्यविन्दुले गण्डकी प्रदेश सरकारसँगको साझेदारीमा ‘नवप्रर्वतन’ कार्यक्रममार्फत फोहर व्यवस्थापनको काम सञ्चालन गरेको छ। उक्त कार्यक्रममार्फत फोहरबाट कम्पोस्ट मल उत्पादन गर्ने काम गरिएको छ। फोहरबाट मल उत्पादन र मललाई आम्दानीसँग जोड्ने गरी नगरपालिका अघि बढेको मध्यविन्दु नगरपालिका नगरप्रमुख भीमलाल अधिकारीले बताए। नगरपालिकाले दिगोरूपमा नगरभित्रको फोहरमैला व्यवस्थापनको कामलाई अघि बढाउन फोहरसँगै आम्दानीलाई जोडेर हिँडाएको उनको भनाइ छ। “फोहर व्यवस्थापन गर्दैगर्दा यसलाई दिगो बनाउन आम्दानीसँग जोड्ने योजनाअनुरुप काम अघि बढिरहेको छ, सोही योजनाअनुसार कम्पोस्ट मल उत्पादन जोडिएको हो”, उनले भने। नगरपालिकाले घरबाट उत्पादन हुने कुहिने फोहर तथा वनजंगलमा रहेका सुकेका पातबाट कम्पोस्ट मल उत्पादन थालेको छ। हालैमात्र विभिन्न समूहमा आबद्ध एक सय ४३ जनाले वनजंगलमा सुकेका पात सङ्कलन गरी नगरपालिकालाई बेचेर आम्दानीसमेत गरेका छन्। प्रतिकेजी पाँच रुपैयाँ ४० पैसासम्ममा पात खरिद गरी मल उत्पादन गरिएको छ। सुकेको पात, गाईभैँसीको गोबरको मात्रा मिलाएर मल तयार गर्ने गरिएको छ। पात संकलनबाट केही भए पनि आम्दानी भएको र सामान्य घरखर्च चलाउन सहयोग पुगेको स्थानीय सीता पुरीले बताए। संकलित पातसहित घरबाट उत्पादन हुने कुहिने फोहरबाट समेत मल उत्पादनको काम अघि बढेको छ। सुक्खा समयमा वनजंगलमा सुकेका पात संकलन गर्दा वनमा हुने आगलागीका घटनामा कमी ल्याउनसमेत सहयोग पुग्ने अपेक्षा लिइएको छ। नगरले घरबाट फोहर वर्गीकरणलाई कडाइका साथ लागू गरेको छ। कुहिने र नकुहिने फोहर वर्गीकरणपछि घरबाटै फोहर व्यवस्थापनको काम हुने प्रमुख प्रशासकीय अधिकृत ज्ञानुप्रसाद पनेरुले बताए। “फोहर वर्गीकरण गर्नेबित्तिकै कतिपयले कुहिने फोहर आफैँ पनि व्यवस्थापन गर्ने गर्नुभएको छ, यसबाट नगरले व्यवस्थापन गर्ने फोहरमा कमी आएको छ”, उनले भने। गण्डकी प्रदेश सरकारको करिब रु दुई करोड १३ लाख र पालिकाको करिब ६४ लाखको लागतमा फोहरमैला व्यवस्थापनको कार्यक्रम अघि बढेको हो। कार्यक्रममार्फत फोहर व्यवस्थापन केन्द्र निर्माण, कम्पोस्ट मल तयार पार्ने उपकरणलगायतका सामग्री खरिद गरिएको छ। कुहिने फोहरबाट कम्पोस्ट मल तयार गर्नका लागि आवश्यक गोबरको व्यवस्थापनका लागि छाडा चौपाया व्यवस्थापनको कामसमेत सँगै अघि बढेको छ। यसले आवश्यक गोबर मलको माग पूरा हुने साथै छाडा चौपाया व्यवस्थापनको काममा समेत सहयोग पुग्ने कार्यक्रमका ‘फोकल पर्सन’ विवेक पोख्रेलले बताए। फोहर व्यवस्थापनका क्रममा उत्पादन गरिने कम्पोस्ट मल नगरभित्रका किसानलाई सहुलियत दरमा उपलब्ध गराइने योजना छ। समग्रमा कार्यक्रमले फोहर व्यवस्थापन, स्थानीय रोजगारी सिर्जना, छाडा चौपाया व्यवस्थापन, कम्पोस्ट मल उत्पादनलाई जोड्ने पोख्रेलले बताए। योसँगै उत्पादित कम्पोस्ट मलले कृषिमा रासायनिक मलको प्रयोगमा कमी ल्याउन, कृषि उत्पादन बढाउन र अग्र्यानिक उत्पादनलाई समेत सहयोग पुर्याउने उनले बताए। – रासस
गोरखामा ९० हजार बिरुवा निःशुल्क वितरण गरिँदै गोरखा। डिभिजन वन कार्यालय गोरखाले विभिन्न प्रजातिका ९० हजारभन्दा बढी बिरुवा निःशुल्क वितरण गर्न सुरुआत गरेको छ। कार्यालयसहित सबडिभिजनमार्फत नर्सरीमा उत्पादन गरिएका बिरुवा जिल्ला भित्र वृक्षरोपणका कार्य बढाउने योजनासहित निःशुल्क वितरण गर्न सुरु गरेको कार्यालय प्रमुख अशोककुमार श्रेष्ठले जानकारी दिए। कार्यालयले काष्ठजन्य, मसलाजन्य, खयर, बकाइनो, चिउरीलगायतका बिरुवा उत्पादन गरी वितरण गर्दै आएको उनले बताए। “हामीले तीन ठाउँका नर्सरीमा बिरुवा उत्पादन गरेका छौँ”, उनले भने, “गोरखा नगरपालिकाको तीन किलो, गण्डकी सबडिभिजन वन कार्यालय सिउरेनटर र पालुङटार सबडिभिजन कार्यालयअन्तर्गतका नर्सरीमा उन्नत जातका बिरुवा उत्पादन गरिएको हो।” विशेष गरेर कवुलियती वन, सामुदायिक वनमा रहेका बाँझो जमिनमा बिरुवा लगेर वृक्षरोपण गर्न उपभोक्ता समिति र समुदायलाई प्रोत्साहन गर्नका लागि निःशुल्क बिरुवा उत्पादन गरी वितरण गर्दै आएको प्रमुख श्रेष्ठले बताए। “तीनवटा नर्सरीमध्ये पायकपर्ने ठाउँमा पुगेर प्रक्रिया पूरा गरी बिरुवा लैजाने व्यवस्था मिलाएका छौँ”, उनले भने, “अधिकाशं ठाउँका उपभोक्ता समिति तथा समुदायले धेरै बिरुवा लगेर पनि वृक्षरोपण गरिसकेका छन्, केही ठाउँमा अझै लैजाने क्रम चलिरहेको छ।” यसले समुदायस्तरमा आयआर्जन वृद्धि गर्नसमेत मद्दत पुग्ने उनको भनाइ छ। कार्यालयले घाँसका लागि राइखन्यु, निमारो, टाँकी, बर्रो, काभ्रो र पाखुरीलगायतका डालेघाँसका बिरुवा उत्पादन गरेको छ। त्यस्तै सौन्दर्यवर्द्धक कल्की, कपुर, म्यान्गुइष्टिक, वीरेन्द्रफूल, कपुर, धुपी, परिजात, श्रीखण्ड, अष्ट्रेलियन बबूल, गोलमोहरलगायतका बिरुवा पनि नर्सरीमा उत्पादन गरी वितरण गरिरहेको प्रमुख श्रेष्ठले जानकारी दिए। त्यसबाहेक फलफूलका अम्बा, इमिली, निबुवा, लप्सी, अमला, कटहर जडीबुटीजन्य तेजपात, टिमुर, सर्पगन्दा, नीम, कुरिलो, कडिपत्तालगायतका बिरुवा पनि नर्सरीबाट उत्पादन गरी वितरण भइरहेको उनले बताए। डिभिजन वन कार्यालय गोरखाले हरेक वर्षजसो नर्सरीमार्फत बिरुवा उत्पादन गरी समुदायलाई वितरण गर्दै आएको छ। – रासस
बैतडीमा लम्पी स्किन नियन्त्रण बाहिर : ६४ हजार पशु सङ्क्रमित, नौ हजार मृत्यु बैतडी। बैतडीमा लम्पी स्किन रोग प्रकोपका रूपमा फैलिएको छ। घरपालुवा पशुमा देखिएको यो रोग नियन्त्रणबाहिर गएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटनले जनाएको छ। यो रोग नियन्त्रणबाहिर पुग्दा पनि जिल्लामा हालसम्म खोपको उपलब्धता हुन नसकेको केन्द्रका पशु विकास अधिकृत तथा लम्पी स्किन सम्पर्क व्यक्ति डा विशाल पाठकले जानकारी दिए। यो रोगबाट हालसम्म ६४ हजार एक सय ९७ घरपालुवा पशु सङ्क्रमित छन्। उक्त रोगका कारण नौ हजार दुई सय ९८ पशुचौपाया मरिसकेका उनले बताए। लम्पी स्किनका कारण बाच्छाबाच्छी, गाईगोरु र भैँसी बढी प्रभावित भएका छन्। उनले भने, “लम्पी स्किनको सङ्क्रमण दिनप्रतिदिन बढिरहेको भए पनि हालसम्म जिल्लामा खोपको उपलब्धता हुनसकेको छैन। प्रदेश र केन्द्र सरकारलाई खोपको उपलब्धताका लागि अनुरोध गरिसकेका छौं।” लम्पी स्किनबाट धमाधम पशुचौपाया मर्न थालेपछि किसान चिन्तित बनेका सङ्क्रमित रहेका भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख गुमानीदत्त पन्तले बताए। उनले भने, “जिल्लाका ८४ वटै वडामा यो रोग फैलिसकेको छ। लेकाली चिसो हुने गाउँमा कम छ। अन्य गाउँमा महामारीकै रूपमा फैलिएको छ।” नियन्त्रणका लागि सामान्य औषधोपचार भइरहेको भए पनि नियन्त्रण हुन नसकेको उनको भनाइ छ। लम्पी स्किनको औषधि नभएका कारण यो रोगबाट प्रभावित पशुको उपचारमा समस्या भएको छ। उनले भने, “सामान्य औषधोपचारबाहेक अन्य कुनै नियन्त्रणको उपाय छैन, सरकारी जनशक्तिबाट मात्रै यो रोग नियन्त्रण हुने अवस्था छैन। अहिले सङ्क्रमित देखिएका पशु मर्ने क्रम झन् बढ्ने देखिन्छ।” यो रोग नियन्त्रणका लागि सरकारीबाहेकका अन्य दक्ष्य जनशक्ति परिचालन र खोपको व्यवस्था हुनुपर्नेमा पन्तको जोड छ। उनले भने, “रोग नियन्त्रणका लागि सरकारी जनशक्तिले पुग्दैन्, अन्य जनशक्ति पनि परिचालन गर्नुपर्छ। साथसाथै खोपको पनि व्यवस्था हुनुपर्ने देखिन्छ।” बैतडीमा गत मङ्सिरमा पाटनमा केही पशुचौपायामा यसका लक्षण देखापरेको र परीक्षण गर्दा गत फागुनमा यो रोग प्रमाणित भएको थियो। पशुचौपायामा ज्वरो आउने, सिङ्गान तथा र्याल बगाउने, शरीरमा गिर्खा आउने, खुर पाक्नेलगायत लक्षण देखिने गरेका छन्। यो रोग झिङ्गा, मच्छर र किर्नाले टोकेमा वा दानापानी, चरन क्षेत्र र पशुको आपसमा सङ्सर्गका माध्यमबाट फैलिने भएकाले सचेत रहन सबैमा अपिल गरिएको छ। रोग नियन्त्रण गर्न किसानले भुसुना, किरा र लामखुट्टे नियन्त्रणका लागि गोठको सरसफाइ, भकारो (पर्सो) व्यवस्थापन र चरन क्षेत्रको ख्याल गर्नुपर्ने जनाइएको छ। रासस
भोजपुरलाई खोप सुनिश्चितता तथा दिगोपना घोषणा भाेजपुर। भोजपुर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ। राष्ट्रिय खोप तालिका अनुसार जन्मदेखि १५ महिनासम्म र १६ महिनादेखि पाँच वर्षमुनिका बालबालिकाले खोप पाएको निश्चित भएसँगै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको हो। यहाँका नौ  स्थानीय तहलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिसकेपछि सोमबार औपचारिक रुपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो। सरकारबाट निःशुल्क दिइने सबै प्रकारका (१३ किसिमका) खोप लगाएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय भोजपुरका प्रमुख सुमन तिवारीले जानकारी दिए। ‘निर्धारित उमेर समुहका बालबालिकाले सम्पूर्ण खोप लगाएसँगै भोजपुरलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरेको छौं’उनले भने, ‘यो अभियान जारी रहन्छ। सवै स्थानीय तहलाई यस अघि नै घोषणा गरेर आज जिल्ला घोषणा गर्न सफल भएका हौं।’ यो घोषणासँगै भोजपुर कोशी प्रदेशमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा हुने चौथो जिल्ला बनेको स्वास्थ्य कार्यालयले जनाएको छ। आगामी दिनमा बालबालिकालाई सरकारले उपलब्ध गराउने सबै प्रकारका खोपको मात्रा पूरा गराउन सबैले भूमिका खेल्नु पर्ने कार्यक्रमका सहभागिहरुले बताएका छन्। जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समिति भोजपुरका प्रमुख कमल थुलुङले  पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरेका हुन्।  सो अवसरमा जिल्लाका नौवटै स्थानीय तहलाई सम्मानसमेत गरिएको छ।
साउन १ देखि काठमाडौंका सार्वजनिक स्थानमा धुम्रपान र मद्यपान निषेध काठमाडौं । आगामी साउन १ गतेदेखि काठमाडौँ महानगरपालिकाका सार्वजनिक स्थानमा धुम्रपान र मद्यपान सेवन गर्न नपाइने भएको छ । पहिलो चरणमा बानेश्वर क्षेत्रबाट निषेधको काम सुरु गर्ने भए पनि यसलाई क्रमिकरूपमा कामपाका ३२ वटै वडामा विस्तार गर्ने तयारी रहेको बताइएको छ । उक्त अभियान कामपा र बानेश्वर व्यापार सङ्घले संयुक्तरूपमा गर्न लागेका हुन् । सङ्घका अध्यक्ष नवीन लुइँटेलका अनुसार अवैध संरचना हटाउने काम पनि बानेश्वरबाट नै सुरु गरेको हुनाले धुम्रपान र मद्यपान निषेधको काम पनि सोही स्थानबाट सुरु गर्ने तयारी गरिएको हो । आजदेखि आगामी साउन १ गतेसम्म प्रचारप्रसारका काम गर्ने, त्यसपछि कडाइका साथ उक्त अभियान लागू गर्ने अध्यक्ष लुइँटेलले जानकारी दिए । सार्वजनिक स्थानमा धुम्रपान र मद्यपानको सेवन गर्ने र अन्यलाई पनि उत्तिनै असर गर्ने हँुदा यस किसिमको अभियान सुरु गर्न लागिएको हो । धुम्रपान र मद्यपान सेवन गर्नेका लागि केही निश्चित स्थान तय गरिने बताइएको छ । एक वर्षअघि पनि कामपाले सुर्तीजन्य पदार्थ सार्वजनिक स्थानमा निषेध गरेको थियो तर त्यसको सकारात्मक प्रभावकारिता नभएको भन्दै कडाइका साथ कार्यान्वयन गर्ने गरी पुनः सुरु गर्न लागिएको बताइएको छ । सुर्तीजन्य पदार्थको सेवनका कारण मुखको क्यान्सर, फोक्सो, पेट, फियो आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुनाका साथै दम, दीर्घ श्वासप्रश्वास, उच्च रक्तचाप, हृदयाघात, मस्तिष्काघात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने जस्ता समस्या हुने गर्दछ । सुर्तीजन्य पदार्थको सेवनका कारण विश्वमा वार्षिक ९२ लाख मानिसको मृत्यु हुने गरेको छ । नेपालमा पनि सुर्तीजन्य वस्तुको सेवनका कारण वार्षिक २७ हजारले अकालमा ज्यान गुमाउनुपरेको छ । क्यान्सर रोग लाग्नुको मुख्य कारण सुर्तीजन्य वस्तुको प्रयोग भएको र जम्मा मृत्युको १३ प्रतिशत क्यान्सरकै कारण हुने गरेको बताइएको छ । नेपालमा हरेक वर्ष २० देखि ३० हजार मानिसलाई विभिन्न प्रकारका क्यान्सर हुने गरेको पनि बताइएको छ । वर्षमा एक पटक स्वास्थ्य परीक्षण गराउने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, नियमितरूपमा शारीरिक व्यायाम तथा योग गर्ने, सिर्जनशील तथा रचनात्मक काममा लाग्ने बानीले क्यान्सर रोगबाट बच्न सकिने बताइएको छ । नेपालमा सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन, २०६८ कार्यान्वयनमा रहेको छ ।
आदिकविको ससुराली गाउँमा जन्मजयन्ती मनाइने दमौली । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको ससुराली गाउँ तनहुँको म्याग्दे गाउँपालिका–१ मानुङकोटमा २१०औँ जन्मजयन्ती मनाइने भएको छ । भानु जयन्तीको अवसरमा यही असार २९ गते शुक्रबार आदिकविको ससुराली गाउँ मानुङमा साहित्यिक कार्यक्रम गर्न लागिएको हो । आदिकवि भानुभक्त आचार्यकी धर्मपत्नी चन्द्रकला खनाल आचार्यको नामबाट स्थापित ‘आदिकवि भानुभक्त आचार्यरचन्द्रकला खनाल आचार्य स्मृति प्रतिष्ठान’ले भानुभक्तसँगै उनकी श्रीमतीको पनि स्मरण गर्दै साहित्यिक कार्यक्रम गर्न लागेको प्रतिष्ठानका सचिव रामहरि खनालले जानकारी दिए । सो अवसरमा कविता वाचन, रामायण वाचनका साथै भानुभक्त र चन्द्रकलाको जीवनीबारे कार्यपत्र प्रस्तुत गरिनेछ । आदिकविको योगदानको महिमा चर्चा गर्दै गर्दा उनकी धर्मपत्नीको योगदानलाई पनि उपेक्षा गर्न नहुने भन्दै उनको सम्मानमा कार्यक्रम आयोजना गरिएको सामाजिक अभियन्ता देवीबहादुर बस्नेतले जानकारी दिए । आजसम्म भानुको मात्र स्मरण गर्दै आएको भन्दै उनले अब भानुसँगै श्रीमतीको पनि स्मरण गर्न आवश्यक छ भन्ने महसुस गरिएको उल्लेख गरे । साथै मानुङको पर्यटकीय सम्भावनालाई उजागर गरी साहित्य र पर्यटनसँगै विकास गर्ने उद्देश्यले पनि अभियान थालिएको उहाँको भनाइ छ । मानुङकोट, दमौलीलाई पर्यटकीय गन्तव्यका रूपमा अगाडि बढाउन यो अभियान कोसेढुङ्गा सावित हुने बस्नेतले बताए । व्यासका अध्येता काशीनाथ न्यौपानेले आदिकविको नाम मानुङकोटसँग जोडिनु गर्वको विषय भएको बताए । व्यास क्षेत्र विकास कोषका कार्यवाहक अध्यक्ष प्रेमप्रकाश भट्टराईले आदिकविकी पत्नीको योगदानको पनि उत्तिकै महिमा हुनुपर्ने बताए । प्रतिष्ठानले निकट भविष्यमा मानुङमा आदिकवि र उनका दुवै श्रीमतीको प्रतिमा स्थापना गर्ने लक्ष्य राखेको छ । मानुङ आउने पर्यटकहरूलाई नेपाली भाषिक एकीकरणमा उनले पु¥याएको योगदान र मानुङसँगको उनको सम्बन्धबारे जानकारी हुने गरी प्रतिमा स्थापना गरिने प्रतिष्ठानका कोषाध्यक्ष विनोद खनालको भनाइ छ । भानुभक्तकी पहिली श्रीमतीको १८ महिनामै मृत्यु भएपछि उनले चन्द्रकलासँग विवाह गरेका थिए । चन्द्रकलाको स्मृतिमा विसं २०७० मा चूडामणि खनालको नेतृत्वमा यो संस्थाको स्थापना गरिएको थियो ।
कोहलपुरलाई हरित सहर बनाउन प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री चौधरी बाँके । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बाँकेको कोहलपुर नगरपालिकालाई हरित सहरका रुपमा विकास गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । राष्ट्रपति चुरे (तराई मधेस संरक्षण समितिअन्तर्गत बाँकेको कोहलपुरस्थित कोहलपुर) नेपालगञ्ज सडकको साझा चोकदेखि हाई स्कुल चोकसम्म आज आयोजना गरिएको वृक्षरोपण कार्यक्रममा सहभागी मुख्यमन्त्री चौधरीले सो प्रतिबद्धता व्यक्त गरेका हुन् । मुख्यमन्त्री चौधरीले सिमेन्ट र सरियाको सहरभन्दा पनि कोहलपुरलाई हरियाली सहरका रुपमा चिनाउनुपर्ने बताए । “अहिले सिमेन्ट र सरियाले सहरको हरियाली उजाडिएको छ”, उनले भने, “कोहलपुर नगरपालिकाले हरित नगरका लागि थालेको अभियानमा प्रदेश सरकारको पूर्णसाथ छ । कोहलपुर प्रदेशको हरियाली नमूना सहर बन्नुपर्छ ।” उनले नगरवासीलाई बोटबिरुवा रोप्नुमात्र ठूलो कुरा नहुने बताउँदै संरक्षण महत्त्वपूर्ण कुरा भएको बताए । मुख्यमन्त्री चौधरीले घरघरमा रोप्ने बिरुवा र सडक सडकमा रोप्ने बिरुवाको पहिचान गरेरमात्र वृक्षरोपण गर्न पनि सुझाव दिए । बिरुवा संरक्षणमा स्थानीयवासीको चासो बढाउनका लागि जनताले रुचाएका बिरुवा रोप्न नगरप्रमुखलाई उनले सुझावसमेत दिए । कोहलपुर नगरपालिका नगरप्रमुख पूर्णप्रसाद आचार्यले कोहलपुरलाई हरित सहर बनाउने अभियानमा स्थानीय सरकार लागिपरेकाले सबैको सहयोग र सहकार्य आवश्यक रहेको बताए । नगरप्रमुख आचार्यले माटोको ल्याब परीक्षण गरेर माटो सुहाउँदो बिरुवा रोपिएको जानकारी दिए । बाह्रै महिना हरियाली हुने बोटबिरुवा रोपिएको जानकारी दिँदै नगरलाई हरित नगर बनाउने अभियानमा हातेमालो गर्न उनले नगरवासीलाई आह्वानसमेत गरे । कोहलपुर नगरपालिकाको तीन लाख २५ हजार, राष्ट्रपति चुरे–तराई मधेस संरक्षण समिति कार्यक्रम कार्यान्वयन इकाइ कैलालीको ३३ लाख ४८ हजार र त्यसमा १० प्रतिशत जनश्रमदानमा बिरुवा रोपिएको उपभोक्ता समितिका अध्यक्ष रामु लम्सालले जानकारी दिए ।
माल्टा पठाई दिने भनी पाँच लाख ८५ हजार ठगी, एक पक्राउ काठमाडौं । नेपाल प्रहरीले माल्टा पठाई दिन्छु भनी रु पाँच लाख ८५ हजार ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले माल्टामा मासिक एक लाख तलब हुने कम्पनीमा जागिर लगाई दिन्छु भनी रु पाँच लाख ८५ हजार ठगी गर्ने गोरखा पालुङटार नगरपालिका घर भई हाल काठमाडौँको तारकेश्वर नगरपालिका बस्ने २९ वर्षीय सुस्मा तामाङलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले रु एक लाख तलब हुने माल्टाको कम्पनीमा जानका लागि रु ६ लाख लाग्छ भनी रु पाँच लाख ८५ हजार लिएर ठगी गरेको आरोपमा तामाङलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ तामाङलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल पठाइएको प्रवक्ता रेग्मीले बताए ।
उच्च ओहोदाको उपचार स्वदेशमा गर्न व्यवस्था मिलाइने : मन्त्री बस्नेत काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले उच्च ओहोदाका व्यक्तिको उपचार स्वदेशमा नै गर्ने व्यवस्था मिलाउन पहल गर्ने बताएका छन् । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले उच्च ओहोदाका व्यक्तिलाई आफ्नो उपचार स्वदेशमा गर्ने अनुरोध गर्ने बताए । उनले उच्च ओहोदाका व्यक्ति उपचारविज्ञ चिकित्सकबाट गराउन मन्त्रालयले प्राविधिक व्यवस्था मिलाउने समेत बताए । उनले विशिष्टीकृत व्यक्तिको स्वदेशमा उपचर गर्दा सरकारी ढुकुटी पनि जोगिने र चिकित्सकमाथि विश्वास पनि हुने भर्ना राखे । उनले पैसा हुनेले बाहिर गएर उपचार गर्ने, नहुनेले नगर्ने खाडल पनि पुरिन आवश्यक रहेको बताए । “यहाँ राम्रा विशेषज्ञ सेवा दिने चिकित्सकहरु धेरै हुनुहुन्छ । राम्रा चिकित्सक छायाँमा पर्नु भएको छ”, उनले भने, “राष्ट्रको ढुकुटी पनि बर्बाद नहोस् । पैसा हुनेले सामान्य रोगका लागि पनि उपचार गर्नका लागि बाहिर गएर उपचार गर्न जान नपरोस् भन्नका लागि स्वदेशमा नै उपचारको व्यवस्था मिलाउने छौँ ।” उनले कुनै शीर्ष नेतालाई केही उपचारमा गर्नुपरे विशेषज्ञ सेवा सहितको चिकित्सकको समूह रोग पहिचान गर्ने र उक्त रोगका उपचार स्वदेशमा गर्न सकिन्छ÷सकिँदैन भन्ने निक्र्यौल गर्नेसमेत बताए । “चिकित्सकको समूहले के रोग हो भन्ने थाहा पाइसकेपछि रोगको उपचार यही हुन्छ भने स्वदेश गर्ने व्यवस्था गरिनेछ”, उनले भए,  “जनुसुकै नेता तथा उच्च ओहोदाका व्यक्ति बिरामी पर्नुभयो भने हामी पनि सम्पर्कमा गर्छौँ ।” उनले नेता बिरामी पर्ने बित्तिकै इयर एम्बुलेन्स नै लिएर जाने प्रचलन रहेको भनाइ राखे । मन्त्री बस्नेतले आफू आइसकेपछि १६ वटा केन्द्रीय अस्पतालका तीन हजार पाँच सय २३ सामान्य शैय्या विपन्नका लागि निःशुल्क गरिएको जानकारी गराए । उनले कुनै पनि नेपालीले पैसाको अभावमा उपचारबाट वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यका साथ आफूले वीर अस्पतालबाट सात सय शैय्या विपन्नका लागि निःशुल्क गराएको बताए । अहिले निःशुल्क सामान्य शय्या कोशी अस्पताल, कान्तिबाल अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, नारायणी अस्पताल, भरतपुर अस्पताल, भेरी अस्पताल, डडेलधुरा अस्पताललगायत १६ केन्द्रीय अस्पताल र प्रतिष्ठानमा गरिएको छ । उनले निजी अस्पतालले पनि गरिबी विपन्नका लागि १० प्रतिशत शैय्या निःशुल्क पर्ने नियमलाई कडाइ गर्दै लगिएको भनाइ राखे । सबै सरकारी अस्पताल सामान्य शैय्या निःशुल्क गरिएपछि र निजी अस्पतालले पनि १० प्रतिशत शय्यामा विपन्नलाई उपचार निःशुल्क दिने भएपछि गरिब, विपन्नको उपचारको धेरैजसो समस्या समाधान हुने मन्त्री बस्नेतले बताए । मन्त्री बस्नेतले वित्त रणनीति र स्वास्थ्य क्षेत्र रणनीति पारित गरेर स्वास्थ्य क्षेत्रका सुधारका काम भइरहेको बताए । उनले अस्पतालको उपकरण खरिद प्रक्रियामा हुने अनियमितता रोक्न विज्ञ समूह गठन गरी काम भइरहेको जानकारी दिए । उनले क्यालेन्डर बनाएर स्वास्थ्य क्षेत्रमा योगदान गरेका उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गरिने समेत बताए ।
झुटो विवरण दिई नागरिकता लिन खोज्ने दुई जना पक्राउ काठमाडौं। झुटो विवरण दिई नागरिकता लिन खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। सूर्योदय नगरपालिका–५ का चेतन गजमेर र भुवनसिंह गजमेर पक्राउ परेको प्रहरीले जनाएको छ। चेतनले भुवनसिंहलाई आफ्नो बाबु भनी पशुपतिनगर सीमा प्रशासन कार्यालयमा अनुसूचीसहितको सिफारिस पेस गरेका थिए। प्रशासनले गरेको स्थलगत सर्जमिनमा भुवनसिंह चेतनको बाबु नभएको खुलेपछि उनीहरू दुवै जना पक्राउ परेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। कार्यालयका अनुसार सूर्योदय वडा ५ ले पनि भुवनसिंह चेतनको बुबा नभएको फेला परेकाले आवश्यक छानबिनका लागि सीमा प्रशासनलाई आग्रह गरेको थियो। पक्राउ परेका दुवै जनालाई पशुपतिनगर इलाका प्रहरी कार्यालयमा राखी अनुसन्धान भइरहेको प्रशासनले जनाएको छ।
काठमाडौँका साँघुरा गल्लीमा ब्लक काठमाडौँ। काठमाडौँ महानगरपालिकाका मुख्य सहरी क्षेत्रका साँघुरा गल्लीमा दुई दशकअघि बिच्छ्याइएका ढुंगा उप्किएर समस्या भएपछि ब्लक छाप्न थालिएको छ। महानगरपालिका–२५ ले ढुढुंगाका कारण समस्या भएको गुनासो आएपछि ब्लक राख्न थालेको हो। चालु आर्थिक वर्षमा नमुनाका रुपमा ६ हजार पाँच सय वर्ग फिट क्षेत्रमा ब्लक लगाइएको वडा नं २५ का अध्यक्ष राजेश डंगोलले जानकारी दिए। ब्लक छाप्ने क्रममा पुरानो ड्रेन भरिएको भनी गुनासो आएपछि ढलका लागि पाइप राखिएको पनि उनले बताए। ढुंगाले गर्मीमा पोल्ने र जाडोमा चिसो हुने गरेकाले वातावरण मैत्री ब्लक छापिएको वडा कार्यालयले जनाएको छ। ढुंगा फुटेर समस्या हुने गरेकामा एशियन ब्लक कम्पनीले पाँच वर्षसम्म ब्लक फुटेमा आफैँ फेरिदिने सम्झौता गरिएकाले सहज भएको वडा सदस्य कृष्ण प्रजापतिले बताए। पहिले राखिएको ढुंगा निकालेर वडाले सुरक्षित राखेको छ। ढुंगाकै माग गर्ने टोलमा भने यही छाप्ने योजना पनि वडा कार्यालयले बनाएको छ। बैगुनधुरा निर्माण सेवाका सुपरभाइजर उत्तम श्रेष्ठ ढुंगा बिच्छ्याउँदा बेला बेलामा मर्मत गर्नुपर्नेमा ब्लक राखेपछि त्यसो गर्नु नपर्ने बताउँछन्। ढुंगा फुटेर जनप्रतिनिधिलाई हुने समस्या पनि ब्लक छापेपछि समाधान हुने उनले सुनाए। – रासस
वातारणीय प्रभाव मुल्यांकन विना नै २८ सडक निर्माण सुर्खेत। भौतिक पुर्वाधार तथा सहरी विकास मन्त्रालयले जेठको अन्तिम साता जाजरकोटमा पठाएका नयाँ सडक योजनाहरु वातारणीय प्रभाव मुल्याकंन विना नै खनिएको पाइएको छ। वन क्षेत्र सखाप बनाएर यि नयाँ योजनाहरु जथाभाबी निर्माण गर्दा वर्षायाममा पहिरोको उच्च जोखिम बढेको छ। प्रहरी ,प्रशासन तथा डिभिजन वन कार्यालयको सहयोग मै ति २८ योजनाहरु निर्माण भएको पाइएको छ। प्रहरीले सुरक्षा दिएरै सडक निर्माण कार्य गरिएको समेत खुलेको छ। सामुदायिक वन उपभोक्ता समुहले सडक निर्माण कार्य राक्न दिइएको निवेदन समेत लत्याएर शक्ति केन्द्र नजिक रहेका व्यक्तिलाई उपभोक्ता समितिमा राखी सडक निर्माण गरिएको हो। उपभोक्ता समितिका पदाधिकारीले सिधै वनमा डोजर हालेर सडक खनि पूर्वाधार विकास कार्यालयबाट प्राविधिकलाई सडक नाप्न समेत बोलाएको पाइएको छ। आवश्यकता भन्दा पनि सडक निर्माण कार्यको नाममा कमाइ खाने भाडो बनाई कार्यकर्तामूखी बजेट छरेर जहाँ त्यहि सडक निर्माण गरेका छन्। यसरी खनिएका सडक मध्य बल्ले हाडेइनजा सडक निर्माण छेडागाड १२, कार्कीज्यूला करुका घर्तीगाउँ सडक बारेकोटल ५, भगवती माध्यमकि विद्यालय देखि एकीकृत बस्ती सम्म सडक निर्माण, भदाले लामातडा बाह्र भदौँ सडक छेडागाड १२, खट्कटा देखि सक्ला टोल सम्म बारेकोट ९, मेलटाकुरी बिरा सडक जुनीचाँदे ४, उखाले देखि तल्लो हितानगाउँ सम्म सडक नलगाड १३, कोल्यानी छुतीपाल्ती बण्डाला बारेकोट ८, कुरीखेत जब्ल बल्लेवाट जुम्ली पोखरी सडक, चिप्लेटा चौखेढुंगा बा्रहथान रिमिदारा सडक, साप्नेखेत गमराख राँगाखाली हुँदै हल्चौर बारेकोट जोडने सडक, भुम्के बुरेली सडक भेरी ४, लामातरा सालातडा राउटेडाडा रानीखेत जुनिचाँदे ५ र खन्नेटा देउराली शिवालय २ का सडक रहेका छन्। त्यस्तै, उम्मे ढुंगादेखि जुरेली सडक नलगाड १ , रानी खेत जिरो प्वाइन्ट थर्पडाडा हुँदै रगुनाथ नलगाड ५, मैला डाडा देखि चोती बिसाउन हुँदै स्वास्थ्य केन्द्र भेरी ५ लगाएतका २८ वटा नयाँ योजना वातारणीय प्रभाव मूल्यांकन विना नै खनिएका छन्। वन क्षेत्र फडानी गरेर जथाभावी सडक खनि पूर्वाधार विकास कार्यालयलाई दबाबमा राखेर शक्ति केन्द्र नजिक भएका व्यक्तिले भुक्तानी समेत लिएको पाइएको छ। निर्माण गरिएका सडक नभई मृत्यु मार्ग बन्नुका साथै वर्षायाममा भलले बगाउने सडक भएको पाइएको छ। वन क्षेत्र सखाप भएको भनि डिभिजन वनमा परेको उजुरी माथी समेत सुनुवाई नभएको पाइएको छ। प्रदेश सरकारका बहालवाला मन्त्रीहरुको दबाबमा जिल्ला स्थित कार्यालयका प्रमुखहरु चुप लागेर बसेको पाइएको छ। गलत भयो भन्ने थाहा छ तर बोल्न मिलेर के गर्नु भन्दै एक कार्यालय प्रमुखले आफूहरु हैरान भएको बताएका छन्। सडक निर्माण भन्दा अगाडी वातावरणीय प्रभाव मूल्यांकनको काम सकेर मात्र सडक निर्माणको सुरुवात गर्नुपर्ने हुन्छ। जिल्लामा जेठ अन्तिममा आएका सडकहरु भने कुनै पनि प्रक्रिया पुरा नगरी सिधै प्रदेशसभा सदस्य तथा मन्त्रीहरुले भनेकै मान्छे उपभोक्ता समितिमा राखेर डोजर लगाइ भकाभक सडक निर्माण गरिएको हो। प्रत्येक टोलमा सडक निर्माण लिने बहानामा पानीका मुहान देखि खेतीयोग्य जमिन समेत ठाउँ ठाउँमा पुरिएको छ। नयाँ आएका सडक निर्माण पछि भुक्तानी लिदा पूर्वाधार विकास कार्यालयका प्राविद्यिकलाई समेत मोटो रकम बुझाएर सडक पास गराएर भुक्तानी लिएको समेत खुलासा भएको छ। प्राविद्यिकले उपभोक्ताबाट रकम लिनका लागि मूल्यांकन घटाउने काम गरेको र रकम दिएपछि मात्र मूल्यांकन बढाउने काम गरेको खुलासा भएको छ। पूर्वाधार विकास कार्यालयबाट यो आर्थिक वर्षमा सञ्चालमा रहेका अधिकांश सडकमा आवश्यकता भन्दा बढी बिल उठाएर जिल्ला कार्यालयलाई एकै योजनाबाट ८ लाख सम्म कमिसन असुलेको पाइएको छ। त्यस्ता कमिसन असुल भएका योजनाहरु निर्माण गर्दा प्रहरीले समेत सुरक्षा दिएको पाइएको छ। निरिह बन्यो डिभिजन वन वातारणीय प्रभाव मूल्यांकन विना निर्माण गरिएका सडकका विषयमा डिभिजन वन कार्यालयमा उजुरी परेपनि डिभिजन वन कार्यालय कारबाही गर्न असफल भएको छ। देखेर पनि नदेझैँ गरि बसेको डिभिजन वन कार्यालय जाजरकोट वन क्षेत्रको कुरा गर्ने बित्तिकै कार्यालयको फोन नै अफ गरेर बसेको आरोप लागेको छ। प्रमुख जिल्ला अधिकारी रामकुमार महतो समेत जथाभाबी निर्माण भएको सडकका विषयमा मौन बसेका छन्। सडक निर्माण गर्दा वन क्षेत्र भएको भन्दै बिरोध गर्ने व्यक्तिलाई तह लगाउन जिल्ला प्रहरी कार्यालयबाट प्रहरी परिचालन गरेर काम सुरुवात गरिएको थियो।
मृग ठानेर बन्दुक पड्काउँदा… भोजपुर। भोजपुर नगरपालिका–१२ टक्सारमा मृग ठानेर भरुवा बन्दुकले हान्दा आफ्नै साथीको ज्यान गएको छ। बन्दुकले लागेर भोजपुर–१२ टक्सारका १८ वर्षीय दिप्सन प्रधानको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ। घटनामा संलग्न छ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख सरतकुमार थापा क्षेत्रीले जानकारी दिए। घटना यही असार २२ गते रातिको भए पनि गोली लागेर साथी मरेपछि उनीहरुले खोलाको बगरमा पुरेको उनको भनाइ छ। मानिस हराएको सूचनाको आधारमा अनुसन्धान गर्ने क्रममा गए राति उनीहलाई प्रहरीले नियन्त्रणमा लिएको हो। “घटना २२ गते रातिको भन्ने बुझिएको छ”, प्रहरी प्रमुख थापाले भने, “साथी मरेपछि अखुवा खोला बगरमा पुरेर घटना लुकाउन खोजेको अनुसन्धानबाट देखिएको छ। हामीलाई सूचना आउन साथ छ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेका छौँ। पुरिएको अवस्थामा फेला परेको शव परीक्षणका लागि जिल्ला अस्पतालमा ल्याएका छौँ। थप अनुसन्धान जारी छ।” मृतकका आफन्तले यही असार २४ गते खोजीको लागि जिल्ला प्रहरी कार्यलयमा उजुरी दिएलगत्तै आरोपीलाई पक्राउ गरिएको हो। – रासस
अचार बिक्रीबाट वार्षिक पाँचलाख आम्दानी गल्याङ। स्याङ्जाको गल्याङ नगरपालिका-३, आदर्श टोल निवासी ४४ वर्षीया माया पाठकले तालिमलाई सदुपयोग गरेर आत्मनिर्भर बनेकी छन्। उनले महिला बहुउद्देश्य सहकारी संस्था लिमिटेडद्वारा २०७७ सालमा प्रदान गरेको क हप्ते अचार बनाउने तालिम लिएकी थिइन्। उनी आत्मनिर्भर मात्र बन्नुभएको छैन प्रशिक्षकका रुपमा विभिन्न ठाउँमा महिलालाई अचार बनाउने तालिमसमेत दिँदै आएकी छन्। तालिम लिएपछि उनले पाठक अचार उद्योग दर्ता गरेर व्यावसायिक रुपमा अचार बनाउन थालिन्। उनले रु ६० हजारबाट सुरु गरेको अचार उद्योगकको लगानी हाल पाँच लाख पुगेको बताइन्। चुलोचौकोमा सीमित पाठकको दैनिकी अचार उद्योग सञ्चालनपश्चात् फेरिएको छ। उनी बिहान सबेरै उठ्छिन्। अचारका लागि विभिन्न कच्चापदार्थ चक्कुको सहायताले टुक्रा पार्छिन्। मसला र तेलमा कच्चा पदार्थ राम्ररी मोल्छिन्। दिउँसोपख छोरी बुुहारीको सहयोग लिएर मोलेर राखेको अचार बट्टामा खाध्छिन्। कसैले अचार खाँद्ने, कसैले सिल्लर गर्ने, कसैले स्टिकर टाँस्ने, कसैले प्लास्टिकले लेप गर्ने यो उनीहरुको दैनिकी हो। “उद्योग सञ्चालनपश्चात् कोरोना कोरोनाको मारमा परियो, बिक्रीका लागि ठिक्क पारेका अचार स्टोरमै थन्काउनुपर्ने भयो”, मायाले भनिन्, “व्यवसाय छोडौँ कि निरन्तरता दिउँ भन्ने दोधार मनका बीच व्यवसायलाई यहाँसम्म ल्याएकी छु, अहिले राम्रो हुँदै गएको छ।” उनले आफूले उत्पादन गरेको अचारबाट वार्षिक रु साढे दुुईदेखि पाँच लाख आम्दानी गर्ने गरेको बताइन्। “भान्साको गहनाका रुपमा लिइने अचार सबै स्वस्थ व्यक्तिका लागि लोकप्रिय छ”, उनले भनिन्, “अचार गुणस्तरीय र स्वादिलो भए पनि ठूलो परिणाममा उत्पादन गर्दा बजारीकरणमा समस्या छ।” उनले बजारीकरणको राम्रो व्यवस्था भए अझै दुईचार जनालाई रोजगार दिन सक्ने दाबी गरिन्। उनको उद्योगको अचार गल्याङ, वालिङ, पाल्पा बुटवललगायतका स्थानमा थोक तथा खुद्रा बिक्री हुने गरेको छ। उद्योगमा लप्सी, अमला, गुन्द्रुकभट्ट, अकबरे खुर्सानी, डल्ले खुर्सानी, हरिया र सुकेका खुर्सानी, तामा, कागती, लसुन, आँप, मिक्स, गाँजर मुलालगायतका अचार उत्पादन हुने गरेका छन्। यहाँ उत्पादितमध्ये लप्सी, लसुन, अकबरे खुर्सानी र कटहरको अचार अत्यधिक लोकप्रिय छन्। – “घरेलु तथा साना उद्योग कार्यालय स्याङ्जाबाट सिल्लर मेसिन पाएपछि अचार सुरक्षित गर्न सजिलो भएको छ”, मायाले भनिन्, “ड्राइ मेसिनका लागि विभिन्न ठाउँमा निवेदन दिए तर पनि पाउँन सकेकी छैन, ड्राइ मेसिनको अभावमा बर्खामा अचार सुकाउन समस्या भएको छ-।” पाठकको श्रीमान् खेमानन्द रोजगारको सिलसिलामा भारतमा छन् भने एक छोरा सुरज वैदेशिक रोजगारमा गएका छन्। उनलाई बुुहारी आरती र छोरी पूजाले अचार बनाउने काममा दैनिक साथ दिँदै आएकी छन्। गल्याङ नगरपालिकाका प्रमुख गुरुप्रसाद भट्टराईले सीपमूलक तालिम सिकेर आत्मर्निभर बनेका महिलालाई नगरपालिकाले प्रोत्साहानका योजना ल्याएको बताए। “नगरपालिकाले नयाँ आर्थिक वर्षमा धेरैभन्दा धेरै स्वरोजगार उत्पादन गर्ने लक्ष्य राखेको छ”, उनले भने, “परम्परागत पेसा, अस्तकला, महिलाको सीपलाई विशेष प्राथमिकताका साथ नगर अगाडि बढ्ने योजनामा छ।” रासस
बुटवल उपमहानगरको सेवा र सुविधा जानकारी लिन ‘एआई च्याटबट’ सेवा लुम्बिनी । बुटवल उपमहानगरपालिकाले सेवाप्रवाहलाई सहज र सरल बनाउन ‘एआई च्याटबट’ सेवा सञ्चालनमा ल्याएको छ । बुटवल उपमहानगरपालिकाबाट प्रदान हुने सेवा, सुविधा र अन्य जानकारीलाई ‘आर्टिफिसियल इन्टेलिजेन्स’ सँग जोडेर उपमहानगरपालिकाले ‘च्याटबट’ सेवा सञ्चालनमा ल्याएको हो । बुटवल नामको च्याटबटको आज बुटवल नगरप्रमुख खेलराज पाण्डेयले ‘नमस्कार, जन्मदर्ता गर्न के गर्नुपर्छ ?’ भन्ने प्रश्न च्याटबटसँग सोधेर शुभारम्भ गरे । त्यस अवसरमा प्रमुख पाण्डेयले उपमहानगरपालिकाका हरेक सेवा र सूचनामा आम जनताको पहुँचलाई सहज र सरल बनाउनका लागि सेवा सञ्चालनमा ल्याइएको बताए । उनले नगरप्रमुखदेखि वडाध्यक्षसम्मका जनप्रतिनिधिको जानकारी, सम्पर्क, दैनिक गतिविधि, योजना कार्यान्वयनको अवस्था, नगरमा के काम भइरहेको छ, कहिले सकिन्छ, कुन कुन काम कसरी हुन्छन् भन्ने जस्ता जानकारी र जनताका गुनासो र सम्बोधनको समन्वयको भूमिका निर्वाह गर्ने गरी च्याटबटलाई सुधार गर्दै लैजाने बताए । नगरप्रमुख पाण्डेयले नगरलाई अग्रणी सहरका रूपमा स्थापित गर्नका लागि सूचना, प्रविधिको अधिकतम उपयोग गर्न नगरवासीलाई प्रेरित गर्ने र सूचना र सञ्चारमाध्यमबाट अधिकतम लाभ हासिल गर्न सकिने गरी उद्यमसँग जोड्ने गरी काम गरिरहेको बताए । कार्यक्रममा च्याटबटको उपयोगिताबारे जानकारी दिँदै युएनडिपीका प्रदेश प्रमुख सुदीप अर्यालले देशमै पहिलोपटक स्थानीय सरकारले सामाजिक सञ्जालमा आधारित च्याटबट सञ्चालनमा ल्याएको र यसले देशभर नयाँ सन्देश दिने बताए । उनले सूचना र सञ्चारको उपयोगबाट सरकारी सेवालाई सहज र सरल बनाउने काममा बुटवलले अगुवाइ सुरु गरेको र यसले जनतालाई लाभ पुग्ने बताए । एआई च्याटबट बुटवल उपमहानगरपालिकाको नेपाली र अङ्ग्रेजीमा ‘बुटवल उपमहानगरपालिका’ नामको फेसबुक पेजबाट सेवाबारे जानकारी लिन सकिने उपमहानगरपालिकाका सूचना प्रविधि शाखाका प्रमुख रोशन रेग्मीले बताए । एआई च्याटबटबाट अहिले नागरिक बडापत्रबारे जानकारीमूलक विषय राखिएको र आगामी दिनमा थप सेवा र सुविधाबारे जानकारीहरू थप गर्दै जाने उनले बताए ।
बालेन शाहको प्रश्न– के म आजदेखि अपराधी भए ? काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन शाहले आफू आजबाट अपराधी भएको बताएका छन् । सामाजिक सञ्जालमा सर्वोच्च अदालतबाट जारी भएको तारेख पर्चाको तस्बिर राख्दै मेयर शाहले आफू आजबाट तारेखमा रहेको उल्लेख गरेका हुन् । ‘आज एउटा विशेष दिन । आजबाट म तारिखमा छु, भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा आजै प्रधानमन्त्रीज्यूले छुट पाउनुभयो, भारतले यो देशको प्रधानमन्त्री बनाउँछ भन्दा। म आजबाट अपराधी। जय होस् यो देशको,’ उनले लेखेका छन् ।
ढुसी र किरा परेको मिठाई बेच्ने पसललाई रु एक लाख ५० हजार जरिवाना काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अखाद्य सामग्री बिक्री वितरण गरेको भन्दै लाजिम्पाटको एक पसललाई रु एक लाख ५० हजार जरिवाना तिराएको छ । कामपा–२ स्थित लाजिम्पाटमा रहेको आकाश फुड्सले सडेगलेका ढुसी परेको मिठाई तथा किरा परेको अन्य खाद्य सामग्री बिक्री वितरण गरेको पाएपछि निजलाई रु एक लाख ५० हजार जरिवाना गरिएको कामपाको निरीक्षण अधिकृत बलराम त्रिपाठीले जानकारी दिए । उनका अनुसार उक्त पसल सञ्चालक अङ्कुर अग्रवालले बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ को दफा २९ को खण्ड २ बमोजिम कसुर देखिएकाले सोही ऐनको दफा ३० को उपदफा १ अनुसार कारबाहीस्वरुप जरिवाना तिराएको बताइएको छ । कारबाही स्वरुपको उक्त रकम आजको मितिले सात दिनभित्र एनआइसी एसिया बैङ्कमा बजार अनुगमन समितिको राजस्व खाता नम्बरमा जम्मा गरी उक्त बैङ्क भौचर दोस्रो प्रति कामपामा पेस गर्न आदेशसमेत गरिएको छ । तोकिएको समयभित्र जरिवाना स्वरुपको रकम उपलब्ध नभए सोही ऐनको दफा ३० को उपदफा ३ बमोजिम थप कारबाही हुने समेत पसल सञ्चालकलाई जानकारी गराइएको छ ।
जबरजस्ती करणी मुद्दामा साढे १८ वर्ष कैद दमौली । तनहुँ जिल्ला अदालतले जबरर्जस्ती करणी मुद्दाका अभियुक्तलाई १८ वर्ष छ महिना कैद फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले आज अभियुक्त व्यास नगरपालिका–१० निवासी यमबहादुर विकविरुद्ध उक्त फैसला सुनाएको हो । यही असार १३ गते मुद्दा फैसला भएकोमा आज सजाय निर्धारण भएको जिल्ला अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए । अदालतले कुँवरलाई रु छ लाख जरिवाना र रु १५ हजार क्षतिपूर्ति बुझाउने समेत फैसला गरेको छ । चौँध वर्षीया बालिकालाई विसं २०७७ मङ्सिर १५ गते जबरजस्ती करणी र विसं २०७८ जेठ १३ गते गर्भपतन गराएको अभियोगमा प्रहरीले विकलाई पक्राउ गरेको थियो । अभियुक्तले बालिकालाई विसं २०७७ मङ्सिर १५ र त्यसपछि पटक–पटक बलात्कार गरेको उजुरी परेको थियो ।
उपभोक्ता समितिको पैसा लुट्ने वडाअध्यक्ष विष्ट पक्राउ सुर्खेत । सुर्खेत वीरेन्द्रनगर–३ का वडाअध्यक्ष विनोदसिंह विष्ट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतले चोरी डाँकाको आरोपमा वडाध्यक्षलाई आज पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतले वडाध्यक्ष विष्टलाई पैसा चोरी गरेको आरोपमा पक्राउ गरिएको जनाएको छ । सुर्खेतका प्रहरी नायब उपरीक्षक लक्ष्मणबहादुर शाहीले आइतबार दिउँसो वीरेन्द्रनगर नगरपालिकाबाट उनलाई पक्राउ गरेको जानकारी दिए । वडाध्यक्ष विष्ट र अन्य दुई जनालाई पैसा चोरेको आरोप लागेको थियो । उनीसहित अन्य दुई जनालाई खोर्केखोला तटबन्धन उपभोक्ता समितिको रु ६ लाख ५० हजार लुटेको आरोप लागेको छ । यस्तै, सो उपभोक्ता समितिले पैसा चोरीको उजुरी प्रहरीमा दिएपछि शुक्रबार सुशील गुरुङ र बलिराज शाहीलाई प्रहरीले पक्राउ गरिसकेको थियो ।
बाढीले जलविद्युत् आयोजनाको निर्माण प्रभावित बेनी । बाढीका कारण म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा निर्माणधीन २१ दशमलब ३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाको निर्माण प्रभावित बनेको छ । संयुक्त ऊर्जा प्रालिले निर्माण गर्न लागेको उक्त आयोजनाको बाँधतर्फ बाढीले अत्यधिक क्षति पु¥याएपछि निर्माण प्रभावित बनेको हो । यी असार २१ गते राति आएको अविरल वर्षापछिको बाढीले आयोजनाको बाँधलगायत पूर्वाधारमा क्षति पुर्‍याएको आयोजनाका प्रमुख रविन्द्र हमालले जानकारी दिए । “बाढीले पूर्वाधार निर्माण कार्य प्रभावित बनेको छ, केही सामाग्री पनि बगाएको”, उनले भने । आयोजनाको निर्माण स्थलतर्फको पहुँचमार्ग समेत बाढीले बगाएको छ । ठेक्का लिएको साकुरा पावर÷त्रिपल एस कम्पनीले बाढीबाट रु ४५ लाख बराबरको क्षति पु¥याएको जनाएको छ । आयोजनाको पहुँचमार्ग रहेको रघुगङ्गा–७ चिमखोलादेखि आयोजनास्थलतर्फको सडकखण्डअन्तर्गत मलाङको पहिरोले सडक निरन्तर अवरुद्ध भएको छ । यसबाट निर्माण सामाग्री ढुवानी समस्या भएको छ । बाँध र विद्युत्गृहतर्फको पूर्वाधार निर्माणमा एक सय ३० मजदुर काम गर्दैआएका छन् । सन् २०२४ जुलाइसम्ममा विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ काम अघि बढाइएकामा अब समय बढी लाग्ने आयोजना प्रमुख हमालले बताए । हालसम्ममा आयोजनाको ६० प्रतिशत भौतिक प्रगति भएको छ । फेदीखोलामा मुहान रहने उक्त आयोजनामा पानीलाई छरीस्थित रघुगङ्गा नदीको किनार विद्युत्गृहसम्म ल्याउन दुई हजार सात सय १५ मिटर लामो सुरुङमार्ग खन्नुपर्नेछ । हालसम्म दुई हजार मिटर सुरुङ निर्माण भइसकेको आयोजनाले जनाएको छ । आयोजनाको लागत रु तीन अर्ब ६० करोड अनुमान गरिएको छ ।
ललिता निवास जग्गा प्रकरण : थप २ जना पक्राउ काठमाडौं । ललिता निवास जग्गा प्रकरणअन्तर्गत थप दुई जना पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)का अनुसार आइतबार प्रकाउ पर्नेमा समर्जङ कम्पनीका लोकहरी घिमिरे र तत्कालिन नापी अधिकृत ध्रुब अर्याल रहेका छन्। उनीहरूलाई आइतबार काठमाडौंबाट पक्राउ गरिएको हो । उनीहरू पक्राउ परेसँगै सो प्रकरणमा पक्राउ पर्नेको संख्या ११ पुगेको छ। यसअघि भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित ७ जना एकैपटक पक्राउ परेका थिए। गुरुङसहित धर्मप्रसाद गौतम, सुधीरकुमार शाह र गोपाल कार्कीलाई प्रहरीले पक्राउ गरेको थियो। उनीहरू अहिले पनि हिरासतमै छन्। सीआईबीले पक्राउ गरेका अन्य तीन जनालाई भने त्यही दिन छाडेको थियो। उनीहरूलाई सर्वोच्चबाट पक्राउ नगर्न आदेश जारी भएको थियो।
पूर्वसांसद र वडाध्यक्षद्वारा पूर्वाधार विकास कार्यालय प्रमुखमाथि हातपात, दुवैजना प्रहरीको नियन्त्रणमा मुगु । जिल्लाको पूर्वाधार विकास कार्यालय मुगका निमित्त कार्यालय प्रमुख ईन्जिनियर दत्त बुढ्थापा कार्यालयमै कुटिएका छन् ।  नेकपा एमालेका नेता कर्णाली प्रदेशसभाका तत्कालीन प्रदेश सभा सदस्य तथा विधायन समितिका सभापतिसमेत रहेका दानसिहं परियार र छायाँनाथ रारा नगरपालिका–६ का वडा अध्यक्ष खेम बहादुर रावलले पूर्वाधार कार्यालय मुगुका निमित्त कार्यालय प्रमुख ईन्जिनियर बुढथापामाथि शनिबार हातपात गरेका हुन । चालु आर्थिक वर्ष २०७९र८० को प्रदेश सांसद विकास कोष मार्फत सञ्चालित खर्कदारदेखि रिगामाडु र माथि बालै हुँदै माथतल्लासम्मका दुई योजनाको लागत स्टेमेटअनुसारको काम नभएको र रकम भुक्तानी पूरा दिन दबाब दिँदा आफूले अस्वीकार गरेपछि कार्यालयभित्र हातपात गरेको र कार्यालय तोडफोेड गरेको प्रमुख बुढथापाको भनाई छ । ४० लाखको योजनाको १० लाख बराबरको काम भएको र ५० लाखको योजनाको ३० लाख बराबरको काम भएको छ । त्यसैअनुरुप भुक्तानी लिन आग्रह गर्दा उनीहरुले हातपात गरेको उनले बताए ।  मुगुमा काम गर्न असहज भएको बुढाले बताए । प्राविधिकहरुलाई पनि ज्यानमार्ने धम्कीले कर्मचारी त्रासमा छन्। यसै बीच हातपातपछि पूर्वसासंद परियार र वडा अध्यक्ष रावललाई प्रहरीले शनिबार नै  नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।
खिजीदेम्बा गाउँपालिकाले मुटुरोगी बालबालिकाको निःशुल्क उपचार गर्ने ओखलढुंगा। खिजीदेम्बा गाउँपालिकाले मुटुरोगी बालबालिकाको निःशुल्क उपचार गर्ने भएको छ । पालिकाभित्रका १५ वर्ष मुनिका बालकालिकाको निःशुल्क उपचार गरिने भएको हो । सहिद गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँमा सउल नेसनल युनिभर्सिटी कजेल एण्ड मेडिकल साइन्सको सहकार्यमा खिजीदेम्बाका मुटुरोगी बालकालिकाको निःशुल्क उपचार गरिने गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक इन्द्रप्रसाद गौतमले जानकारी दिए। गाउँपालिकाले रोग पहिचान गरेका बालबालिकालाई यही असार २९ देखि आगामी साउन ५ गतेसम्म काठमाडौँमा निःशुल्क उपचारको प्रबन्ध मिलाइएको उनले जानकारी दिए। गाउँपालिकाले उपचारका लागि जाने बालबालिकालाई यातायातकोसमेत व्यवस्था गरिदिने भएको छ ।
विकासले फेरियो कुस्मिसेराको मुहार गलकोट। तीन वर्षअघिसम्म बागलुङको जैमिनी नगरपालिकाको केन्द्र कुस्मिसेरा बजारको बीच सडकबाट सिँचाइको कुलो बग्दथ्यो। सडकमा नाली नहुँदा सिचाँइका लागिसमेत बजारको बीच सडक नै प्रयोग गर्ने अवस्थाले बजारको शौन्दर्यतालाई गिज्याउँथ्यो। यस क्षेत्रमा उर्भर खेतीयोग्य जमिन भए पनि संघीयता आएसँगै जैमिनी नगरपालिकाको केन्द्र कुस्मिसेरा भइसकेपछि अहिले यहाँ तीव्र सहरीकरण भइरहेको छ। ‘अन्नको भण्डार’का रुपमा रहेको उक्त खेतको फाँटमा पक्की भवन धमाधम निर्माण भए पनि बजारको सडक भने सुधार हुन सकेको थिएन। बर्खामा बजारभित्रकै सडक हिलाम्मे र हिउँदामा धुलाम्मे हुने अवस्थाको यही वर्षदेखि अन्त्य भएको छ। यही वर्ष बजार क्षेत्रको सबै सडक कालोपत्र र ढलान सम्पन्न भइसकेको जैमिनी नगरपालिकाले जानकारी दिएको छ। कुश्मिसेरा बजारमा तीन वर्षदेखि थालिएको सडक ढलान र कालोपत्र सकिएपछि बजारको मुहार फेरिएको स्थानीय पुनेन्द्र सापकोटाले बताए। “चार वर्षअघिसम्म सडकमा नालीसमेत थिएन, बजार मात्रै भएर के गर्ने ? बर्खामा सडकबाटै सिँचाइका लागि कुलो लैजानु पर्दथ्यो”, उनले भने, “पछिल्लो तीन वर्षयता कुस्मिसेरा बजार परिवर्तन भएको छ, अहिले एकातर्फ सडकको नाली र अर्कोतर्फ सिँचाइको लागि प्रयोग गर्ने नाली बनाइएको छ। कालोपत्र र ढलानले सडकका खल्डाखुल्डी सबै पुरिएका छन्।” बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे सडकका कारण व्यवसायी तथा यात्रुलाई सास्ती भएकामा अब भने सहज हुने समपकोटाको भनाइ थियो। अहिले कुस्मिसेराका भिरालो स्थानमा ढलान र समथर सडकमा कालोपत्र गर्दा यात्रुलाई सहज हुनुका साथै शौन्दर्यकरण थप भएको उनले बताए। कुस्मिसेरा बजारमा छ सय ६० मिटर सडक कालोपत्र गरिएको र एक किमी सडक ढलान गरिएको नगरपालिकाका इञ्जिनियर विवेक सापकोटाले जानकारी दिए। “पालिकाको केन्द्र सुधार हुन आवश्यक थियो। अहिले मुख्य सडकमा कालोपत्र र ढलान भएको छ, केही शाखा सडक बाँकी छन्”, उनले भने, “कालोपत्रभन्दा ढलान सडक धेरै खर्चिलो र पक्का हुने भएकाले ढलान सडक लामो समयसम्म टिक्ने अपेक्षा छ।” इञ्जिनियर सापकोटाका अनुसार रू एक करोड ९७ लाखमा कुस्मिसेरा बजारको सडक पक्की बनाइएको हो। जसमध्ये चालु आर्थिक वर्षमा पाँच सय मिटर सडक ढलान र एक सय ३० मिटर सडक कालोपत्र गरिएको छ। कुस्मिसेरा बजारको सबै सडक कालोपत्र र ढलान गरिएको जैमिनी नगरपालिकाका नगर उपप्रमुख हरिहर शर्माले जानकारी दिए। “कुस्मिसेरा बजारको मुख्य क्षेत्रमा कालोपत्र तथा ढलान सम्पन्न भएको छ। यसले बजार क्षेत्रको शौन्दर्यकरण गरेको छ”, उनले भने। सहरी विकास मन्त्रालयबाट गत वर्ष रू ४५ लाख र चालु आर्थिक वर्षमा रू ९७ लाख बजेट विनियोजना भएको जनाउँदै उनले नगरपालिकाको तिरन्तर पहलकदमीबाट पक्की सडक निर्माण सम्पन्न भएको उपप्रमुख शर्माले बताए। उनका अनुसार बाँकी रकम नगरपालिकाले छुट्याएको थियो। “अब नगरपालिकाको ध्यान वडास्तरीय सडक सुधारमा हुनेछ”, उनले भने। उपप्रमुख शर्माका अनुसार बागलुङ बजारबाट कुस्मिसेरा पुग्न दुई किलोमिटर सडक मात्रै कच्ची रहेको छ। सडक कालोपत्र भएपछि एक घण्टामै बागलुङ बजारबाट कुस्मिसेरा पुग्न सकिने भएपछि स्थानीय खुसी भएका छन्। -रासस
टोखामा चार सय ३४ सडक बत्ती जडान काठमाडौँ। टोखा नगरपालिकाले मेयर उज्यालो कार्यक्रमअन्तर्गत चार सय ३४ सडक बत्ती जडान गरेको छ। आर्थिक वर्ष २०७९/८० मा मेयर उज्यालो कार्यक्रम अन्तर्गत टोखाभित्रका विभिन्न सडकमा चार सय ३४ सडकवत्ती र एक सय ३० सिसी क्यामरा जडान गरेको नगरपालिकाका उपप्रमुख मुरारी तामाङले जानकारी दिए। टोखाले आव २०७९/८० मा वडा नं २ र ६ को वडा कार्यालय भवन निर्माण गर्नुका साथै नगरपालिकाको प्रशासकीय भवन निर्माणसमेत सम्पन्न गरेको छ। सार्वजनिक भवन, ताल, पोखरी संरक्षण, ऐतिहासिक सम्पदाको पुनःनिर्माण, नदी नियन्त्रण, खानेपानी डिप बोरिङ एवम् पाइपलाइन विस्तारलाई प्राथमिकता दिएको टोखाले चालु आवमा १२.१५ किलोमिटर पक्की सडक निर्माण गरिसकेको छ। यस्तै, ब्लक विच्छ्याउने काम ३.२९ वर्ग किलोमिटर, पुल कल्भर्ट १२ वटा, ढल विच्छ्याउने तथा मर्मत कार्य ५.११ किलोमिटर, खानेपानी पाइपलाइन विच्छ्याउने तथा मर्मत एक सय ३२ स्थानमा गरिएको सो नगरपालिकाले जनाएको छ। उपप्रमुख तामाङले टोखाले खेलकुद क्षेत्रको विकासका लागि अन्तर विद्यालयस्तरीय विभिन्न खेलकुद प्रतियोगिता सम्पन्न गर्नुका साथै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न गरिसकेको बताए। दीर्घरोग विरुद्धको अभियानमा मेयर कार्यक्रमअन्तर्गत ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य परीक्षण, ६० वर्ष माथिका दुई हजार एक सयभन्दा बढी व्यक्तिको स्वास्थ्य परीक्षण गरिएको सो नगरपालिकाले जनाएको छ। टोखाले नगरवासी बिरामीलाई निःशुल्क रगतको व्यवस्था समेत गरेको छ। टोखाले नगरपालिका र वडामा नगद राजस्व क्यूआर कोर्डमार्फत भुक्तानी सुरुआत गरेको उपप्रमुख तामाङले बताए। टोखाले आव २०७९/८० को वार्षिक लक्ष्यको ९४.९१ प्रतिशत राजस्व संकलन हुने लक्ष्य लिएको छ। – रासस
बारामा जन्मका आधारमा ३०० जनाले लिए नागरिकताको प्रमाणपत्र बारा। जन्मका आधारमा नागरिकता लिनेका सन्ततिलाई पनि नागरिकता दिन थालिएपछि जिल्ला प्रशासन कार्यालय बाराबाट हालसम्म ३०० जनाले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका छन्।  जिल्ला प्रशासन कार्यालय बाराबाट शुक्रबारसम्म ३०० सय बढीले नयाँ ऐनअनुसार नेपाली नागरिकता प्राप्त गरेको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जनकारी दिए। जन्मसिद्ध नागरिकका सन्तानलाई कार्यालयले असार १० गते नागरिकताको प्रमाण पत्र वितरण सुरु गरेको हो। कार्यालयले सुरुमा दैनिक ५० वटाको दरले टोकन बाँडे पनि पछिल्लो समय दैनिक एक सय वटासम्म वितरण गर्दैै आएको छ। कार्यालयका अनुसार आगामी दुई महिनासम्मको लागि टोकन बुक भइसकेको छ। यता इलाका प्रशासन कार्यालय सिमराबाट पनि हालसम्म २५० वटा जन्मसिद्धका आधारमा नयाँ नागरिकता वितरण भइसकेको छ। जीतपुरसिमरा र निजगढ नगरपालिका हेर्ने इलाका प्रशासन कार्यालय सिमरामा जीतपुरसिमरा वडा नं ७ बाट सबैभन्दा धेरै सिफारिस आएको ईप्रका सिमराले जनाएको छ। अन्य दुई ठाउँ कोल्हवी र सिम्रौनगढमा भने छिटपुट रूपमा वितरण भइरहेको जनाइएको छ। जन्मसिद्धका आधारमा नागरिकता प्राप्त गर्न आमाबुवाको नागरिकता, जन्म दर्ता, घरजग्गाको लालपुर्जा, नेपालमा बसोबास गरेको प्रमाण, नाता प्रमाणित, खानेपानी, बिजुली, टेलिफोन शुल्क बुझाएको प्रमाण, शैक्षिक योग्यताको प्रमाण पत्र, आमाबुवा मृत्यु भएको खण्डमा मृत्यु दर्ताको प्रमाण, २०६३ सालको टोलीमा नाबालक दर्ता गराएको भए सोको निस्सा लगायतका कागजपत्रका आधारमा वडा कार्यालयको सिफारिसमा जिल्ला प्रशासन र इलाका प्रशासन कार्यालयबाट नागरिकता जारी हुदैआएको छ। प्रमुख जिल्ला अधिकारी सापकोटाले नागरिकता लिन आउनेहरू मध्ये अधिकांशको बसोबास गरेको जमिनको धनीपूर्जा नभएको, धारा, विद्युत् शुल्क तिरेको रसिद र जग्गा जमिन नभएकाहरू पनि नागरिकता लिन आएको भेटिएको छ। २०६३ सालमा जन्मसिद्ध नागरिकता लिएर पनि नेपालमा बसोबास भएको कुनै प्रमाण नभएकाहरू पनि नागरिकता लिएका आएको उनले बताए। प्रमुख जिल्ला अधिकारी सापकोटाले नागरिकता विधेयकमा रहेको त्रुटीका कारण धेरै व्यक्तिहरु नागरिकताको प्रमाणपत्र प्राप्त गर्नबाट बञ्चित भएको बताए। अहिलेको विधेयक अनुसार बाबुआमा मध्ये एकको नागरिकता नलिई मृत्यु भएका खण्डमा तिनका सन्तान नागरिकता लिनबाट बञ्चित हुनेछन्। यस्तो अवस्थामा नागरिकताको प्रमाणपत्र दिन समस्या भएको र त्यस्ताहरुको हकमा आफूहरुले गृहमन्त्रालयमा लेखेर पठाउने गरेको उनले बताए। बारामा ३५ हजारभन्दा धरै व्यक्तिले नयाँ नागरिकता पाउने भएका छन्। कार्यालयले जन्मसिद्धका आधारमा बारा जिल्लाबाट नागरिकता पाउनेको संख्या करिब ३५ हजारभन्दा बढी हुने आंकलन गरेको छ। ०६३ सासलमा जिल्लाबाट ११ हजार ९३ जनाले जन्मसिद्ध नागरिकता लिएको र यसको आधारमा प्रतिपरिवार ३/४ जना सदस्य मात्रैले लिँदा पनि ३५ हजारभन्दा बढीले नागरिकता पाउने अनुमान गरिएको प्रमुख जिल्ला अधिकारी सापकोटाले बताए।
विषालु च्याउ खाँदा डोटीमा ११ जना बिरामी दिपायल। डोटीको दिपायल सिलगढी नगरपालिका–५ इन्द्रचोकका ११ जना विषालु च्याउ खाँदा बिरामी भएका छन्। बिरामी हुनेमा दिपायल सिलगढी –५ इन्द्रचोकका अनमोल डुरा, वासु बोगटी, गंगा डुरा, एलिजा डुरा, मीना बोगटी, सुनिल खड्का, सकुन्तला खड्का, निशा बोगटी, बर्मा देवल, बबर देवल, सानु बोगटी रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। बिरामी भएका सबैलाई जिल्ला अस्पताल डोटीमा उपचार सम्भव नभएपछि डडेल्धुरा अस्पताल सिफारिस गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक राजेन्द्र धमलाले जानकारी दिए। उनीहरुको अहिले डडेल्धुरा अस्पतालमा उपचार भइरहेको अस्पतालले जनाएको छ।
तनहुँमा नमूना पशुपक्षी अस्पताल बन्दै डुम्रे। भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँ परिसरमा नेपालकै ‘नमूना पशु अस्पताल’को निर्माण भइरहेको छ। पशुपक्षीको रोग पहिचान, अनुसन्धान र उपचारका लागि अत्याधुनिक अस्पताल निर्माण गर्ने काम भइरहेको छ। नेपालकै नमूना पशुपक्षी अस्पताल बनाउनका लागि गरिएको प्रस्ताव स्वीकृत भई काम भइरहेको हो। भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले गरेको प्रस्ताव गण्डकी प्रदेश सरकारले स्वीकृत गरी बजेट विनियोजन गरेपछि निर्माणको काम भइरहेको विज्ञ केन्द्रले जनाएको छ। केन्द्रका अनुसार हाल केन्द्रमा सामान्य किसिमको प्रयोगशाला मात्र रहेकाले नयाँ प्राकृतिक रोग देखिएमा पत्ता लगाई निदान गर्न धेरै समय लाग्ने र काठमाडौँ पठाउनुपर्ने बाध्यताको अन्त्य गर्ने उद्देश्यले अस्पताल निर्माण भइरहेको छ। गण्डकी प्रदेश सरकारको रु चार करोड ९० लाखको लागतमा डेढ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी इको बिल्र्डस प्रालि चितवनले ठेक्का सम्झौता गरेको थियो। आगामी पुसभित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको सहरी विकास तथा भवन निर्माण एकाइ कास्कीले काम गरिरहेको भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँका प्रमुख डा बालकृष्ण श्रेष्ठले जानकारी दिए। उनका अनुसार हालसम्म ६० प्रतिशतभन्दा बढी निर्माण भइसकेको छ। पशुपक्षीमा जटिल प्रकारको रोगको उपचार, विभिन्न रोगका बारेमा अनुसन्धान केन्द्रको रूपमा विकास गर्न ‘मोडेल’को रूपमा अस्पताल बनाउने कार्य अघि बढेको केन्द्रका प्रमुख डा श्रेष्ठले जानकारी दिए। उनका अनुसार बहुवर्षीय योजनाअन्तर्गत रु १० करोडको लागतमा अस्पतालको अन्य भौतिक संरचना विस्तार गर्दै लैजाने लक्ष्य रहेको छ। देशकै ७७ जिल्लामध्ये पहिलो चरणमा कास्की र तनहुँमा पशु अस्पताल निर्माण भइरहेको उनले बताए। अस्पतालको भवन निर्माणपश्चात आधुनिक उपकरण जडानसहित दक्ष जनशक्तिले पशुपक्षीको उपचार गर्नेछन्। भवनको भुइँतलामा व्यवस्थित प्रयोगशाला, भिडियो एक्स–रेका साथै प्राविधिक जनशक्तिको व्यवस्था गरिने सो केन्द्रले जनाएको छ। अस्पताल निर्माणपछि साना तथा ठूला पशु तथा चराचुरुंगीको अत्याधुनिक प्रविधिबाट उपचार गर्न सकिनेछ। केन्द्रका प्रमुख डा श्रेष्ठले भने, “प्रविधि तथा भौतिक पूर्वाधारको अभावले गर्दा कार्यालयको नामअनुसारको काम गर्न कठिन भएको बेला नमूना अस्पताललाई काम गर्न सहयोग पुग्नेछ, पशुपक्षीलाई जटिल रोग लागेमा पोखरा, काठमाडौँ पठाउनुपर्ने बाध्यता पनि हट्नेछ।” नमूना अस्पताल सञ्चालन हुनासाथ पशुबाट मानवमा सर्ने विभिन्न रोगको न्यूनीकरण गर्न, महामारीजन्य रोग फैलन नदिन तथा पशुधनको सुरक्षा गर्न मद्दत पुग्ने उनले बताए। यसलाई तालिम केन्द्रको रूपमा विकास गर्न सकिने केन्द्रका प्रमुख डा श्रेष्ठले बताए। महामारी रोग द्रुतगतिमा फैलन सक्ने भएकाले नियन्त्रणको लागि पशुपक्षी पालनमा अग्रणी जिल्लाका रूपमा चिनिएको तनहुँका अतिरिक्त कास्की, लमजुङ, गोरखा, र नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का पशुपक्षीको उपचार गर्न सहज हुने केन्द्रले जनाएको छ। बहुवर्षीय योजनाअन्तर्गत अस्पतालको भौतिक संरचना विस्तार गर्दै लैजाने योजना रहेको उनले बताए। पहिलो चरणमा ढलानसहितको तीनतले भवन निर्माण गर्न गरिनेछ। अस्पतालको भवन निर्माणपश्चात आधुनिक उपकरण जडानसहित दक्ष जनशक्तिद्वारा पशुपक्षीको उपचार गरिनेछ। पशुमा लाग्ने महामारीजन्य रोग निदान गरी क्षति हुनबाट जोगाउन पशु स्वास्थ्य कार्यक्रमलाई प्राथमिकतामा राखिएको उनले बताए। “महामारीजन्य रोग पहिचान तथा न्यूनीकरण गर्न सकिए कम्तीमा २० प्रतिशतले पशुको क्षति कमी हुने र किसानको आम्दानी बढाउन सकिन्छ”,उनले भने। उनले नमूना पशु अस्पतालमा पशुपक्षीको रोग निदान, नियन्त्रण र उपचारका लागि सहज हुने बताए। सामग्री तथा औजरको अभावमा पशुपक्षीको हचुवाको भरमा उपचार गर्नुपर्ने अवस्थाको अन्त्य हुने उनको विश्वास छ। पशु धनलाई क्षति हुनबाट जोगाउन पशु स्वास्थ्य कार्यक्रमलाई प्राथमिकतामा राखिएको केन्द्रका प्रमुख डा श्रेष्ठले बताए। “पशुमा सहजै नदेखिने जुका, माटे, चरचरेजस्ता रोगले दूध तथा मासु उत्पादन हुन्छ, यसमा आँखाले नदेख्ने किटाणु रहेका हुन्छन्”, उनले भने, “यहाँ निर्माण हुने अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणबाट पशुमा लाग्ने रोगको निदान गरी समयमा औषधोपचार गर्न सकिन्छ, जसले गर्दा ती पशुबाट हुने उत्पादनमा बढाउनेछ र किसानको आम्दानी वृद्धि गर्न सकिन्छ।” अस्पताल निर्माणपछि तनहुँलगायत लमजुङ, गोरखा र नवलपरासी जिल्लाका पशुपालक किसान लाभान्वित हुनेछन्। करिब ६ सय पाँच वर्गमिटर क्षेत्रफलमा दुई ब्लक गरी भवन निर्माण कार्य भइरहेको छ। भवनको तल्लो तलामा पशुपक्षीका लागि एक्स–रे, भिडियो एक्स–रे, प्रयोगशाला, शव परीक्षणलगायतका सेवा कक्ष र प्रविधिक जनशक्ति रहने व्यवस्थासहितको भवन निर्माण हुनेछ भने पहिलो र दोस्रो तलामा प्रशासनिक कार्यालय, प्रयोगशाला, बैठक हल, तालिम हललगायत रहनेछन्।
तीन पालिकामा साेलार स्थापना : १६ हजार ७५४ जनालाई राेजगारी जाजरकोट। कृषि क्षेत्रमा सुधार गर्नका लागि सञ्चालनमा रहेको प्रधानमन्त्री कृषि आधनिकिकरण परियोजनाले भारी उपलब्धी गरेको बताएको छ। पालिका भित्र सञ्चालनमा रहेका जोन, पकेट र ब्लक क्षेत्रहरुको सुधार तथा विकासको अवस्था बारे भएको समिक्षाबाट भारी मात्रामा किसानहरुको समस्या हल भएको पाइएको परियोजना जाजरकोटका  प्रमुख दिपेन्द्र पोखरेलले बताए। प्रगतिका बारे पालिकाहरुका कृषि शाखा प्रमुखहरुबाट जनताले गरेका अपेक्षाहरुको बारेमा जानकारी लिई भएका कामहरुको समिक्षा समेत गरिएको छ। कार्यालयले ८६.४३ प्रतिशत काम भइ लक्ष्य नजिक पुगेको उनले बताए । जसमा पशु अस्पताल तथा पशु सेवा कार्यालय जाजरकोट तर्फ बाख्रा ब्लक विकास कार्यक्रम अन्तर्गत ९५.२४ प्रतिशत, सम्पुर्ण स्थानिय तह अन्तर्गत पकेट विकास कार्यक्रममा ८७.०९ प्रतिशत, जोन विकास कार्यक्रम तर्फ ८२.४ प्रतिशत र कृषि विकास कार्यालय जाजरकोट बाट संचालित विभिन्न ब्लकहरुमा (तरकारी , स्याउ, ओखर र मकै) ब्लक विकास कार्यक्रम अन्तर्गत ८१.८ प्रतिशत प्रगति भएको प्रमुख पोखरेलले बताए। जिल्लामा यो कार्यक्रम लागु भए पछि हाल सम्म १६ हजार ७५४ जनाले प्रत्यक्ष रुपमा रोजगारी पाएको र यो आबमा मात्र १ हजार ७९० जनाले रोजगारी पाएको कार्यालयले जनाएको छ। कार्यालयले ४ वटा विभाग मध्य ३ वटा (जोन,पकेट र ब्लक) विभागहरु चालु अवस्थामा रहेको बताएको छ। जोन अन्तर्गत सुन्तला जोन जाजरकोट का ७ वटा स्थानीय तह मध्ये ४ वटा स्थानीय तह मा कार्यान्वयनमा रहेको छ भने त्यस्तै ओखर जोन ५ वटा स्थानीय तहमा र मौरी जोन ३ वटा स्थानीय तहमा कार्यान्वयनमा रहेको छ। उक्त कार्यक्रम बाट ५०० घरधुरी लाई सेवा प्रदान गरिएको कार्यालयको दावी छ। आर्थिक वर्ष २०७९/०८० मा सुन्तला जोन तर्फ ५ मेट्रिक टन क्षमताका ३ वटा सेलार स्टोर निर्माण भई संचालनमा आएसँगै सर्वसाधारण किसानहरुलाई सहयोग पुगेको छ। छेडागाड नगरपालिका १०, कुशे गाउँपालिका ८ र नलगाड नगरपालिका ३ मा सेलार स्टोर निर्माण भई कृषकले उत्पादन गरेका सुन्तलालाई सुरक्षित गर्न सहयोग पुगेको कार्यालयका कृषि प्राविद्यिक धरम चन्दले बताए। जुनिचाँदे , बारेकोट , नलगाड र कुशेमा ओखर जोन तर्फ २१ वटा साना सिचाई निर्माण भएका छन्। त्यस्तै ९ ठाउँमा रहेका बगैचामा थोपा सिँचाइ निर्माण भएको चन्दले बताए। मौरी जोन तर्फ ६ वटा समुह/सहकारी/फर्म लाई मौरीका विभिन्न आधुनिक सामग्रीहरु वितरण गरि मत उत्पादनमा आधुनीकिरणमा जोड दिइएको उनले बताए। परियोजना लागू भएसँगै जिल्लामा सुन्तला, ओखर र मौरी पालक किसानलाई भारी मात्रामा राहत पुगेको नलगाड ३ का किसान तुले थापाले बताए।
राजकुमारको कृषि कथाः काम गर, सफलता मानिसको पछि-पछि आउँछ सिन्धुपाल्चोक। गोठभरि गाईवस्तु, केही ‘लोकल’, केही सुर्ति प्रजातिका भैंसी। केही क्रस प्रजातिका राँगा, केही ‘लोकल’ कुखुराहरू पनि। सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-१२ नं वडाका राजकुमार ढकालको गोठ गाईभैंसी र लोकल कुखुराले भरिभराऊ छन्। वैदेशिक रोजगारीमा सात वर्ष बिताएर गाउँ फर्किएसँगै उनी कृषि पेसामा आकर्षित भएका हुन्। विदेशमा सात वर्ष कमाएर ल्याएको पैसा र बैंकमा घरजग्गा धितो राखेर ऋण निकालेका उनको गोठमा २५ गाईभैंसी र ४० लोकल कुखुरा छन्। लामो समय विदेश बसेर आए पनि सोचेजस्तो आम्दानी नभएपछि उनी कृषि पेसामा आकर्षित भएको बताउँछन्। “आफ्नै माटोमा केही गर्छु भनेर आएको छु, लगानी धेरै छ हेरौँ सफल भइन्छ कि ?”, उनले भने। देशमा थुप्रै राजनीतिक परिवर्तन भए। देशको व्यवस्था फेरियो। तर, राजकुमारको अवस्था भने फेरिन सकेन। उही पुरानै अवस्था देखेपछि उनले विदेश जाने निधो गर्नुभयो। र, उनी मलेसिया हुइँकिए। उजाड सपना र केही गरेर खान नसक्ने आफन्त र गाउँलेको तिखो बचनले विसं २०६५ मा मलेसिया पुगेका उनी मलेसियामा पनि धेरै दुःख गुजार्नुपरेको बताउँछन्। “मलेसियामा मैले फोहरमा काम गरेको हुँ, धेरै दुःख व्यहोरेको छु”, उनले भने। मलेसियामा सोचेजस्तो आम्दानी नभएपछि उनी त्यहाँबाट भागेर स्वदेश फर्किए। स्वदेश फर्किएपछि पनि के गर्ने भन्ने अन्योलता उनको मनबाट हटेन। र, फेरि उनी कतार गए। कतारमा उनले विमानस्थलमै काम पाए। तर सोचेजस्तो तलब नपाएपछि दुई वर्षमै उनी फेरि स्वदेश नै फर्किए। घरपरिवार र आफन्तसँग केही समय बिताएपछि फेरि पनि उनले विदेशी भूमिमै जाने निधो गरे र दुबई गए। दुबईमा पेट्रोलपम्पमा काम पाए। तीन वर्ष कतार बस्दा पनि सोचेजस्तो कमाई नभएपछि उनी फेरि स्वदेश नै फर्किए। विदेशी भूमिमा सात वर्ष समय बिताएका उनले विदेशबाट जम्मा पाँच लाख लिएर फर्किएको बताउँछन्। ७५ लाखको लगानी गाईभैंसीपालनका लागि उनले विदेशबाट कमाएर ल्याएको र ऋण गरेर रु ७५ लाखको लगानी रहेको बताउँछन्। दूध बोक्नलाई बोलेरोसमेत किनेका उनले लक्ष्मी बैंकबाट ६० लाख ऋण लिएको बताउँछन्। “मैले लक्ष्मी बैंकबाट मात्रै ६० लाख ऋण लिएको छु। ३५ लाखको वस्तुमात्रै छन्”, उनले भने। सुरुमै त्यत्रो लगानी गर्छुभन्दा घरपरिवारबाटै हतोत्साहित गर्ने काम भएको उनी सुनाउँछन्। “सुरुमै यत्रो लगानी गर्छु भन्दा त घर परिवारबाटै नगरौं भन्ने कुरा आएको थियो”, उनले भने। अहिले भने ढकालको परिवारमा खुसी छाएको छ। उनको हिम्मतले आज सफलता र खुसी बनाएको छ। विदेशमा १६ घन्टासम्म काम गरेको बताउने राजकुमार अहिले मासिक तीन लाख आम्दानी गर्छन्। गाईवस्तुको आहारबाहेक उनको मासिक डेढ लाख बच्छ। “महिनामा तीन लाख कमाउँछु। त्यति नकमाए त मेरो घरजग्गा बैंकले लगिहाल्छ नि”, उनले भने। उनी पैसा कमाउनकै लागि खाडी जानु नपर्ने बताउँछन्। जाँगर हुने मानिस विदेश जानुभन्दा गाउँमै केही गर्न उनी सुझाउँछन्। आफ्नै उत्पादन आफ्नै व्यापार राजकुमारको काम दूधमात्रै उत्पादन गर्ने होइन, उनी दूध बेच्ने पनि गर्छन्। उनको आफ्नै दूध डेरी पनि छ। मेलम्ची बजारमा उनले गाईभैंसीपालनसँगै दूध पनि आफ्नै डेरीबाटै बेच्छन्। उत्पादन गरेको दूध अन्त पुर्‍याउनुपर्ने झन्झट उनलाई छैन। दैनिक एक सय २० लिटर दूध उत्पादन हुने उनको गाई फार्मबाटै उनलाई मनग्य दूध पुग्दछ। आफ्नै उत्पादित दूधबाट उनी पनिरलगायत अन्य परिकार पनि बनाउने गरेको बताउँछन्। जीवनमा खुसी पाउनका लागि झन्डै ३० वर्ष संघर्ष गरेका ढकालको मुहारमा खुसी आउन चार वर्ष काफी समय भयो। मलेसियाको तातो घामदेखि काठमाडौंका गल्ली-गल्लीमा संघर्ष गरेका उनी गाउँ फर्किएर कृषि पेसामा संलग्न भएको चार वर्षमै उनको मुहारमा खुसी छाएको हो। सुरुमा पाँच लाख लगानी गरेर कुखुरापालनसमेत गरेका उनी हतार र हतास गर्न नहुने बताउँछन्। उन सफलता मानिसको पछि-पछि आउने गरेको बताउँछन्। “हामी हतार र हतासी बन्न नहुने रहेछ। धैर्य गर्ने हो भने प्रतिफल आउँछ सफलता पाइन्छ”, उनले भने।
अवरुद्ध नारायणगढ-मुग्लिन सडक दुइतर्फी सञ्चालनमा चितवन। पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडकखण्ड दुइतर्फी सञ्चालनमा आएको छ। नौ घण्टापछि आज विहानदेखि सडकखण्ड दुइतर्फी सञ्चालनमा आएको हो। चितवनको इच्छाकामना गाउँपालिका-६ कालीखोलामा शनिवार अपरान्ह चार बजे सुख्खा पहिरो खसेपछि सडक दुइतर्फी अवरुद्ध बनेको थियो। तीन  एक्साभेटर र जेसिभी प्रयोग गरेर पहिरो पन्छाइएको थियो। अहिले रोकिएका सवारीसाधन र यात्रुहरु गन्तव्यतर्फ लागेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए। उनले मौसम र सडकको अवस्था बुझेर मात्र यस सडकखण्डको यात्रा गर्न अनुरोध गरे। यस सडकखण्डमा असार महिना लागेपछि पटक-पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ। यस सडक हुँदै दैनिक हजारौ सवारीसाधन आउजाउ गर्ने गर्दछन्। पटक–पटक सडक बन्द हुँदा पूर्व र पश्चिम हुँदै काठमाडौं र पोखरा ओहोरदोहोर गर्ने यात्रु बढी मर्कामा परेका छन्।
गण्डकी सरकारले तीन सुरुङमार्गको पूर्वसम्भाव्यता अध्ययन गरिने गण्डकी। गण्डकी प्रदेश सरकारले तीन सुरुङमार्गको पूर्वसम्भाव्यता अध्ययन गर्ने भएको छ । तनहुँको भिमादबाट नवलपुरको डेढगाउँ, डेढगाउँ–झ्यालबास र लमजुङको शीतलपाटी–नाल्फाफेदी सुरुङमार्गको पूर्वसम्भाव्यता अध्ययन आगामी आर्थिक वर्षमा सुरु गरिने भएको हो । नीति, कार्यक्रम र बजेटमा पाँच सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको प्रदेश सरकारले बागलुङको बिहुँ–नरेठाँटी र म्याग्दीको दानाबाट मुस्ताङको घाँसा जोड्ने सुरुङमार्गको सङ्घ सरकारले समेत अध्ययन गरिहेकाले तीन सुरुङमार्गको मात्र पूर्वसम्भाव्यता अध्ययन गर्न लागेको हो । सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था कार्यालयका प्रवक्ता टीकाराम पौडेलका अनुसार सुरुङमार्गको पूर्वसम्भाव्यता अध्ययनका लागि रु ६० लाख बजेट विनियोजन गरिएको छ । “नयाँ आर्थिक वर्ष लागेपछि आवश्यक प्रक्रिया पुर्याएर अध्ययनको काम अगाडि बढाउँछौँ”, उनले भने, “प्रदेश एक्लैले सुरङमार्ग बनाउन सक्दैन, हामीले सुरुङमार्ग बन्न सक्छ या सक्दैन भनेर सम्भाव्यता अध्ययनमात्र गर्ने हो ।” प्रदेश सरकारले विकासको दीर्घकालीन सोच राखेर सुरुङमार्ग अध्ययनलाई नीति, कार्यक्रम तथा बजेटमै समावेश गरेको प्रवक्ता पौडेलले बताए। मन्त्रालयले विज्ञसँगको राय–परामर्शमा छिट्टै अध्ययनको काम थाल्ने उनको भनाइ थियो । प्रदेश सरकारले समेत सम्भाव्यता अध्ययनको घोषणा गरेको बागलुङ बिहुँ–नरेठाँटी जोड्ने सुरुङमार्ग सङ्घ सरकारको बजेटमा परेर पनि अहिलेसम्म अध्ययनको काम अगाडि बढ्न सकेको छैन । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दीको दानाबाट मुस्ताङको घाँसा जोड्ने सुरुङमार्गको पनि करिडोर आयोजनाले नै सम्भाव्यता अध्ययन गर्ने जनाइएको छ । वर्षौंदेखि चर्चामा रहेका सुरुङमार्गको सम्भाव्यता अध्ययन हुन नसकिरहेका बेला प्रदेश सरकारले थप सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको हो । मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत पर्ने बिहुँ–नरेठाँटी सुरुङमार्गको सम्भाव्यता अध्ययनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चालु आवमा रु ५० लाख बजेट छुट्याएको थियो । आव सकिनै लाग्दा पनि उक्त सुरुङमार्ग आयोजनाको प्रारम्भिक अध्ययनसमेत हुनसकेको छैन । काठेखोला गाउँपालिका–५ बिहुँदेखि गलकोट नगरपालिका–२ नरेठाँटी जोड्ने उक्त सुरुङमार्ग बनेमा लोकमार्गमा घन्टौँ लाग्ने यात्रा केही मिनेटमा छोट्टिनेछ । पर्यटक तथा सर्वसाधारणको आउजाउदेखि त्यस क्षेत्रको आर्थिक, सामाजिक विकासमा उक्त सुरुङमार्गले महत्त्वपूर्ण टेवा पुग्ने विश्वास लिइएको छ । बागलुङ–२ का सासंद देवेन्द्र पौडेलले बजेट अभाव देखाएर मन्त्रालयले काम अगाडि नबढाएको बताए । “रातो किताबमै परेको आयोजना हो, अहिलेसम्म अध्ययनको काम अगाडि बढ्नुपर्ने हो, तर मन्त्रालयले बजेटको समस्या देखाउने गरेको छ”, उनले भने, “यसमा हामीले पनि सुरुदेखि नै पहल गरिरहेका छौँ ।” केही वर्षअघि परामर्शदाता कम्पनीका प्रतिनिधि आएर सुरुङमार्ग बन्ने ठाउँको स्थलगत अवलोकन गरे पनि सम्भाव्यता अध्ययनको काम अघि नबढेको स्थानीयवासीको गुनासो छ । सङ्घ सरकारको प्राथमिकतामा परेको कास्कीको हेम्जा–नयाँपुल सुरुङमार्गको पनि अझै विस्तृत सम्भाव्यता अध्ययन हुनसकेको छैन । पोखरा–बागलुङ राजमार्गमा पर्ने उक्त सुरुङमार्ग बनेमा डेड घन्टाको सडकमार्ग १५ मिनेटमा समेटिनेछ । अहिले हेम्जा–नयाँपुलको दूरी ४० किमी छ । सुरुङमार्गले त्यसलाई सातदेखि आठ किमीमा घटाउने अनुमान गरिएको छ । यसले प्रदेश राजधानी पोखरालाई पर्वतसहित धवलागिरि क्षेत्रका चारै जिल्लालाई जोड्छ । सडक विभागले हेम्जा–नयाँपुल सुरुङमार्गको विस्तृत सम्भाव्यता अध्ययन छिट्टै सुरु हुने जनाएको छ । उक्त सुरुङमार्ग अध्ययनका लागि सङ्घ सरकारले चालु आवमा रु एक करोड ५० लाख बजेट छुट्याएको थियो । सुरुङमार्ग अध्ययनका लागि परामर्शदाता कम्पनीसमेत छनोट भइसकेको विभागले जनाएको छ । घुमाउरा सडक भएका पहाडी भूगोलमा सुरुङमार्ग निर्माण गर्ने सङ्घ सरकारको नीतिलाई प्रदेशले पनि पछ्याएको हो । सडक विभागले ‘सुरुङमार्ग विकास कार्यक्रम’मार्फत सुरुङमार्गको निर्माण र सम्भाव्यता अध्ययनको काम गर्दै आएको छ । रामबहादुर थापा\रासस
तीन दिनपछि कर्णाली करिडोर खुल्यो मान्म। तीन दिनदेखि बन्द रहेको कालीकोट खण्डको कर्णाली करिडोर खुलेको छ । वर्षाका कारणले बन्द भएको कर्णाली करिडोर खुलेको हो । ठाउँ–ठाउँमा आएको पहिरोका कारणले कर्णाली करिडोर बन्द भएको तीन दिनपछि आज खुलेको जिल्ला ट्राफिक कार्यालय कालीकोटले जनाएको छ । तीनदेखिको वर्षाले कर्णाली करिडोरको कालीकोट नरहरिनाथ गाउँपालिका–८ को खुलालु, जारकोट खण्डमा दुई ठाउँमा आएको पहिराले करिडोर बन्द भएको स्थानीय रामबहादुर बुढाले बताए। “करिडोरको लालीघाट खण्ड पनि निकै जोखिममा छ”, उनले भने, “सान्नीत्रिवेणी गाउँपालिका–१ को लुसागाउँको डिलबाट पहिरो झरिरहेकाले करिडोरको यात्रा निकै जोखिम छ ।” वर्षायामको बेला कर्णाली करिडोर क्षेत्र निकै जोखिम हुने गरेको प्रहरीको भनाइ छ ।
कञ्चनपुरमा जग्गाधनी पुर्जा वितरण सुरु बेदकोट। राष्ट्रिय भूमि आयोग कञ्चनपुरले अव्यवस्थित बसोबास गर्ने जग्गाधनीलाई जग्गाधनी पुर्जा वितरण सुरु गरेको छ । पहिलो चरणमा जिल्लाको कृष्णपुर नगरपालिकास्थित शान्तिपुरमा पुर्जा वितरण गरिएको हो । पहिलो चरणमा कृष्णपुर नगरपालिकाका ६५ जनालाई जग्गाधनी पुर्जा वितरण गरिएको जिल्लास्थित राष्ट्रिय भूमि आयोगका अध्यक्ष देवेन्द्र ढुङ्गानाले जानकारी दिए । उनले क्रमशः बेदकोट, दोधाराचाँदनी, बेलौरी नगरपालिकामा जग्गाधनी पुर्जा वितरण गर्ने तयारी थालिएको बताए । शान्तिपुरमा विसं २०२४ देखि मानव बस्तीको विकास भएको थियो । “कृष्णपुर नगरपालिकाबाट अव्यवस्थित बसोबासीलाई पुर्जा वितरण गर्न सुरु गरिएको छ”, आयोगका अध्यक्ष ढुङ्गानाले भने, “बेदकोट, दोधारा चाँदनी र बेलौरीमा पुर्जा वितरणको तयारी भइरहेकाले क्रमशः सबैलाई वितरण गरिने छ ।” कृष्णपुर नगरपालिका–७ शान्तिपुरका रामबहादुर चौधरीको एक बिघा ऐलानी जमिन छ । वर्षौंदेखि यहाँ बसोबास गर्दै आएका उनले जग्गाधनी पुर्जाका लागि भूमि आयोग गठन भएपिच्छे पटकपटक फाराम भरेपनि विभिन्न बहानामा जग्गाधनी पुर्जा पाएका थिएनन् । लामो समयपछि यसपटक भने रामबहादुरले तीन कट्ठा जमिनको लालपुर्जा पाएका छन् । “दाङबाट बाजे बसाइँसराइ गरेर यहाँ आउनुभएको हो, हरेक आयोगमा फाराम भरियो”, उनले भने, “लामो समयपछि यसपटक भोगचलन गरेको तीन कट्ठा जग्गाको पुर्जा पाएका छौँ ।” उपभोग गरेको वर्षौंपछि जग्गाधनी पुर्जा पाएपछि उनी खुसी छन् । विसं २०६३ मा सेतो पुर्जा पाएको जमिनको अहिले लालपुर्जा पाएको उनले बताए । “हजुरबुवाले उपभोग गरेको जमिनको लालपुर्जा नातिको पालामा पाइयो, वर्षौंपछि भए पनि पुर्जा पाउँदा खुसी लागेको छ”, रामबहादुरले भने, “बाँकी जमिनको पनि चाडै पुर्जा पाए हुन्थ्यो ।” उनले आफ्नोसहित केही जमिन भाडामा लिएर व्यावसायिक तरकारी खेती गर्दै आएका छन्। लालपुर्जा भएपछि तरकारी खेतीमा लगानी गर्न तथा अन्य धेरै कुरामा सहज हुने उनको विश्वास छ । “लालपुर्जा नहुँदा तरकारी खेतीमा लगानी गर्नका लागि ऋण निकाल्न सकिएको थिएन, अब लगानी कम परेमा बैंकमा धितो राखेर ऋण लिन र थप गर्न सजिलो हुन्छ”, रामबहादुरले भने । केही दिनअघि एक कार्यक्रमको आयोजना गरेर जग्गाधनी पुर्जा हस्तान्तरण गरिएको नगर प्रमुख हेमराज ओझाले बताए। “जग्गा भोग गरिरहेका तर जग्गाधनी प्रमाण पुर्जा नभएका सबैलाई जग्गाको मालिक बनाइन्छ, यस कार्यको सुरुआत भएको छ”, उनले भने, “अब अन्य वडामा पनि पुर्जा वितरण गरिनेछ ।” भूमि आयोगका अध्यक्ष ढुङ्गानाका अनुसार अहिले नौवटै पालिकामा नापी गर्न बाँकी जमिनको नापीको काम चलिरहेको छ । कृष्णपुर नगरपालिका–५ र ६ मा नापीको काम बाँकी छ । बेदकोट नगरपालिकामा जग्गा नापीको काम सकिएको छ । “नापी सकिएको वडामा धमाधम पुर्जा वितरण गरिन्छ”, उनले भने, “हामीसँग जनशक्ति कम छ, स्थानीय तहले जनशक्ति व्यवस्थापन गरिदिने आश्वासन दिएका छन् ।” बेलौरी नगरपालिका–४, ९ र १० मा नापी सकिएको छ भने वडा नं २ मा चलिरहेको छ । पुनर्वास नगरपालिका–४, ५ र ९, लालझाडी–४ र ५, बेलडाँडी–२ र ५, दोधारा चाँदनी–८ तथा भीमदत्त नगरपालिका–४ र १७ मा नापीको सकिएको छ । शुक्लाफाँटा नगरपालिकामा पनि दुई वडामा मात्रै नापी सकिएको छ । जिल्लाभर अव्यवस्थित बसोबासका ७० हजार बढी निवेदन परेका भूमि आयोग कञ्चनपुरले जनाएको छ । आयोगका अध्यक्ष ढुङ्गानाका अनुसार भूमिहीन दलित, भूमिहीन सुकुम्बासीका ४५ सय र अधुरो काम (नापनक्सा र फिल्ड बुक भएका र सेतो पुर्जा पाएका) ६५ सयले निवेदन दिएका छन् । पहिलो चरणमा अव्यवस्थित बसोबासीको छानविन गरेर पुर्जा वितरणपछि भूमिहीन दलित र भूमिहीन सुकुम्बासी तथा अधुरो कामका निवेदनमाथि छानविन गर्ने भूमि आयोगको तयारी रहेको उनले बताए।
कृषि क्षेत्रमा पर्याप्त बजेट नल्याइएको कर्णालीका सांसदको गुनासो सुर्खेतरभेरीगङ्गा।कर्णाली प्रदेशका प्रदेशसभा सदस्यहरूले सरकारले कृषि क्षेत्रमा ध्यान दिन नसकेको टिप्पणी गरेका छन् । सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८०\८१ को बजेटमाथिको मन्त्रालयगत छलफलका क्रममा सांसदहरूले कुल ग्राहस्थ्य उत्पादनमा ३० प्रतिशतभन्दा बढी योगदान रहेको कृषि क्षेत्रलाई बजेट बिनियोजनमा वेवास्ता गरिएको बताए । सांसद विनोदकुमार शाहले ६० प्रतिशतभन्दा धेरै संलग्न रहेको कृषि क्षेत्रमा मन्त्रालयले बजेट पर्याप्त ल्याउनबाट चुकेको टिप्पणी गरे । उनले भने, “बजेटले कृषिलाई जसरी सम्बोधन गर्नुपर्ने हो, त्यसरी गर्न सकेन । हामी यसमा दुःखी छौँ, कुल ग्राहस्थ्य उत्पादनमा ३० प्रतिशत योगदान रहेको यो क्षेत्रमा बजेट न्यून छ ।” सांसद बिन्दमान विष्टले तल्लो कर्णाली र माथिल्लो कर्णालीलाई एउटै तराजुमा राखेर बजेट विनियोजन गर्दा विकासको गति अगाडि बढ्न नसक्ने बताए। “माथिल्लो कर्णाली र तल्लो कर्णालीमा बजेट आकार एउटै छ”, उनले भने, “सिँचाइकै हकमा डोल्पा र सुर्खेतमा लाग्ने लागत एउटै हुँदैन?” उनले सिँचाइ आयोजना कार्यक्रम सबैतिर लागू गर्नुपर्ने भन्दै यसले मात्रै किसानका समस्या समाधान हुनसक्ने बताए। सांसद जानकी सिंहले खेतीयोग्य जमिनको उपयोग गर्ने गरी सरकारले बजेट ल्याएको भन्दै सुर्खेतमा धेरै जमिन बाँझो रहेकाले त्यसको उपयोग गर्न सरकारले ध्यान दिनुपर्ने सुझाव दिए। सांसद जितबहादुर मल्लले पनि कृषि क्षेत्रसँगै उद्योग क्षेत्रमा पनि लगानी बढाउनुपर्नेमा मन्त्रालयगत शीर्षकमा त्यस्तो नदेखिएको बताए। सांसद रणसिंह परियार, सांसद पूर्णबहादुर खत्री चालिसेलगायतले मन्त्रालयगत बजेटमाथिको छलफलमा भाग लिएका लिएका थिए । आजको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र ऊर्जा मन्त्रालयगत बजेटमाथिको छलफल भएको हो ।
धौलिगङ्गा बाँघ खोलिने, महाकाली किनारमा नजान आग्रह बैतडी। महाकाली नदीको जलस्तर बढ्ने भन्दै सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय बैतडीले आग्रह गरेको छ । एक सूचना जारी गर्दै प्रशासन कार्यालयले भारतस्थित तपोवन धार्चुलाको धौलिगङ्गा जलविद्युत् परियोजनाको बाँध खोलिने भएकाले सतर्कता अपनाउन आग्रह गरेको हो । वर्षात्का कारण परियोजनाको जलाशयमा पानीको प्रवाह दिनप्रतिदिन वृद्धि हुँदै गएकाले बाँधको ढोका खोलिने धौलिगङ्गा पावर स्टेशन धार्चुलाबाट जानकारी प्राप्त भएकाले सतर्कता अपनाउन आग्रह गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए । उनले भने, “वर्षात्का कारण परियोजनाको जलाशयमा पानीको प्रवाह दिनप्रतिदिन वृद्धि हुँदै गएकाले जुनसुकै बेला पनि बाँधका ढोका खोलिने जानकारी आएको छ । त्यसैले महाकाली नदी आसपासका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेका छौँ ।” लगातारको वर्षा र बाँध खोलिएपश्चात् महाकाली नदीमा जलस्तर बढ्ने सम्भावना बढी भएकाले नदी आसपासका नागरिकलाई सचेत रहन र नदी वारपार नगर्न आग्रह गरिएको उनले बताए । दार्चुलादेखि बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाव र सतह बढ्नसक्ने भएकाले नदी छेउछाउमा नजान र सतर्कता अपनाइराख्न स्थानीय प्रशासनले पनि अनुरोध गरेको छ । धौलिगङ्गा जलविद्युत् परियोजनाको बाँध वर्षात्का बेला हरेक वर्ष खोलिने गर्दछ । परियोजनाको बाँध खोल्नुपूर्व सतर्कताका लागि जानकारी गराउने गरिएको छ । विसं २०७० असार २ र ३ गते एक्कासी धौलीगङ्गाको बाँध खोलेपछि दार्चुला सदरमुकाममा एक सयभन्दा बढी घर बगाउनुका साथै अर्बौं रुपैयाँको क्षति भएको थियो ।
सुदूरपश्चिम प्रदेशमा लागुऔषधको सेवन र ओसारपसारको डरलाग्दो अवस्था सुदूरपश्चिम। लागुऔषध मुद्दामा कैलाली कारागारमा रहेका छोरालाई हालै भेट्न पुगेकी धनगढीकी कमला अवस्थीको साथबाट प्रहरीले केही दिनअघि लागुऔषध बरामद गर्यो । छोरा ओमप्रकाशलाई भेट्न पुगेकी कमलालाई जाँच गर्ने क्रममा फेला परेको बिस्कुटको पाकेटभित्र लुकाइ राखेको अवस्थामा प्रहरीले लागुऔषधसहित पक्राउ गरेको हो । ओमप्रकाशकी पत्नी पनि लागुऔषधकै मुद्दामा कारागारमा रहेकी छन् । यसैगरी कैलाली कारागारमै कैद भुक्तान गरिरहेका धनगढीका करन बमलाई भेट्न पुगेका आफन्त भीम बोगटीलाई पनि सेम्पुको डब्बाभित्र लागुऔषध लुकाएर लैजान लागेको अवस्थामा पक्राउ गरिएको थियो । पछिल्ला महिनामा लागुऔषधको सेवन, ओसारपसार रोकथामका लागि यो भित्रिन सक्ने सम्भावित ठाउँको निगरानीमा प्रहरीले आफ्नो सक्रियता बढाउँदै यसको जालो तोड्ने प्रयास प्रहरीले गरिरहेको छ । यसमा संलग्न हुने विभिन्न ठाउँबाट लागुऔषधसहित धमाधम पक्राउ पर्न थालेका छन् । यी घटनाले लागुऔषधको ओसारपसार र सेवन समाजमा डरलाग्दो रुपमा फैलिरहेको देखाउँछ । समाजमा हुने गरेका अधिकांश आपराधिक घटनामा लागुऔषध सेवनकर्ताको कुनै न कुनैरुपले संलग्नता देखिँदा सुरक्षा चुनौती पनि थपिएको प्रहरीको भनाइ छ । “बढी सङ्ख्यामा १६ देखि २२ वर्ष उमेर समूहका युवायुवती यस्तो कुलतमा फस्ने गरेको पाइएको छ”, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामसिंह चौधरीले भने, “चोरी, लुटपाट, झैँझगडाजस्ता घटना र कतिपय हत्या घटनामा समेत लागुऔषध सेवनकर्ताको संलग्नता रहने गर्दा सुरक्षा चुनौती थपिएको छ ।” नेपाल–भारतबीचको खुला सिमानाको फाइदा उठाउँदै यसको ओसारपसार गर्न सहज भइरहेको बताइन्छ । सीमापारि भारतीय बजारमा त्यहाँका व्यापारीले निर्वाधरुपमा लागुऔषध बेचबिखन गर्ने गरेको कारण यसको उपलब्धता सहज भइरहेको बताइन्छ । अभिभावकको उचित संरक्षण एवं रेखदेख नपाएकै कारण कतिपय युवायुवती आफ्ना साथीभाइको लहैलहमा लागेर लागुऔषधको कुलतमा फसिरहेको देखिएको छ । घरपरिवारको बिग्रेको आन्तरिक माहोल, सञ्चार प्रविधिको दुरुपयोगले पनि धेरै व्यक्ति दुव्र्यसनीको सिकार भइरहेको पाइन्छ । कतिपय परिवारका अभिभावकले आफ्ना छोराछोरीसँग गर्ने गलत बानी व्यवहारका कारण पनि लागुऔषधको समस्या बढेको देखिएको प्रहरीको अध्ययनले देखाएको छ । युवायुवती लागुऔषध दुव्र्यसनको सिकार भइरहँदा पनि सम्बन्धित अभिभावक भने बेखबरजस्तै देखिँदा यो समस्या रोकथाम जटिल बन्दै गएको प्रहरीको भनाइ छ । प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कले बर्सेनि लागुऔषध मुद्दा दर्ता हुने सङ्ख्या बढ्दै गएको देखाएको छ । आर्थिक वर्ष २०७६/७७ मा लागुऔषधका एकसय ७१ मुद्दा दर्ता भएकोमा आव २०७७/७८ सम्म आइपुग्दा यो सङ्ख्या बढेर दुई सय ५३ पुगेका थिए । यस्तै आव २०७८र७९मा तीन सय ५३ मुद्दा दर्ता भएकोमा चालु वर्ष २०७९/८०को गत ११ महिनामा यो सङ्ख्या झण्डै चार सय ९१ पुगेको छ । पछिल्लो ११ महिनामा दर्ता भएका मुद्दामा सबैभन्दा बढी एक सय ६८ जना १६ देखि २० वर्ष उमेर समूहका युवायुवती छन् । प्रदेशभरिका प्रहरी कार्यालयका थुनुवा कक्षमा विभिन्न अपराधमा हाल रहेका दुई सय ६७ थुनुवामध्ये एक सय ३७ जना लागुऔषधसम्बन्धी मुद्दाका छन् । उनीहरुमाथि थप अनुशन्धान गरी मुद्दा चलाउने प्रक्रिया चलिरहेको छ । “यो उमेर समूहका युवायुवतीको दिनचर्याको निरन्तर निगरानी गर्नमा अभिभावक, प्रहरी निकाय, शिक्षक सबैले गम्भीर हुनुपर्ने देखिएको छ”, प्रहरी उपरीक्षक चौधरीले भने, “यसबाहेक लागुऔषधको उत्पादन हुने स्थल, सञ्चित गर्ने ठाउँ, आपूर्ति गरिने क्षेत्रलाई ‘डिस्ट्रवाइ’ गर्न अति आवश्यक छ ।” दुव्र्यसनीको कुलतमा लागेकाले समूहगतरुपमा वा एक्लाएक्लै भए पनि एकान्त ठाउँको खोजी गरी टिपेक्स सुँघ्ने, गाँजा, चरेश, ब्राउन सुगर, ट्याब्लेटजस्ता कडा खालको लागुऔषध सेवन गरिरहेको बताइएको छ । यस्ता लागुऔषधले धित नमर्ने अवस्था भएमा कुलतमा फसेका कतिपय युवाले सुईको माध्यमवाट टिटी जेसिक, नर्फिन, फेनारगनजस्ता कडा खालको लागुऔषध प्रयोग गर्ने गरेको पाइन्छ । यस्तो लतमा सबै वर्ग समुदायका युवायुवती लागेको देखिन्छ । कतिपयले समाजमा बदनाम हुने डरले आफ्ना छोराछोरीको यस्तो आनीबानी लुकाउने गरेको पनि देखिन्छ । यो समस्या समस्या समाधानको प्रयासस्वरुप प्रदेश प्रहरी कार्यालयले धनगढी उपमहानगरपालिकासँग समन्वयमा उपमहानगर क्षेत्रको फूलबारीमा दुई सय जना अट्ने क्षमताको सुधार केन्द्र स्थापनाको पहल थालेको छ । कानुनी कारबाहीले मात्रै यो समस्या समाधान सम्भव नदेखिँदा कुलत हटाउन नियमितरुपमा ध्यान केन्द्र र सुधार केन्द्र स्थापना गर्नुपर्ने आवश्यकता महसुस गरेर यो केन्द्र स्थापनाको पहल गरिएको बताइएको छ ।
दुई वटा ट्रक ठोक्किएर आगलागी हुँदा तीन जनाको मृत्यु मकवानपुर। मकवानपुरमा सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। आज बिहान पौने २ बजे मनहरी गाउँपालिका-६ नयाँबस्ती डिपाट गाउँस्थित पूर्व पश्चिम सडकखण्डमा हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना६ख ६६६७ नंको ट्रक र विपरीत दिशातर्फबाट आउँदै गरेको ना६ख ६३१ नंको ट्रक एकापसमा ठक्कर खाई दुर्घटना हुँदा दुवै ट्रकमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले बताए। दुर्घटनामा तीनजनाको ज्यान गएको कार्कीले बताए। मृत्यु हुनेमा ना६ख ६६६७ नंको ट्रक चालक जिल्ला चितवन राप्ति नपा ८ बस्ने वर्ष २८ को रिहान रुम्बा तामाङ, सहचालक जिल्ला गोरखा गण्डकी गापा २ गोर्दीटार बस्ने वर्ष २१ को सुमन चेपाङ र ना६ख ६३१ नंको ट्रक सहचालक जिल्ला मकवानपुर मनहरी गापा ३ बस्ने वर्ष २० को अमृत प्रजा रहेको कार्कीले बताए। आगलागी भएको सवारी निभाउन हेटौँडाबाट दुई वटा दमकल आई आगो निभाए पनि सवारी पूर्ण क्षति भएको प्रहरीले जनाएको छ। दुर्घटनामा दुई जना घाइते भएको प्रहरीले जनाएको छ। घाइते हुनेमा ना६ख ६६६७ नको ट्रकमा सवार जिल्ला चितवन राप्ति नपा ३ बस्ने वर्ष ३५ को विवेक तमाङ र ना६ख ६३१ नंको ट्रक चालक जिल्ला मकवानपुर मनहरी गापा ३ बस्ने वर्ष ३२ को अर्जुनकुमार प्रजा रहेको बताइएको छ। रासस
गण्डकी प्रदेशको बजेट पारित कास्की । गण्डकी प्रदेश सरकारले यही असार १ गते सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८०र८१ को बजेट प्रदेशसभाबाट पारित भएको छ । आर्थिक मामिलामन्त्री जीतप्रकाश आले मगरले शुक्रबारको प्रदेशसभा बैठकमा विनियोजन विधेयक–२०८० र आर्थिक विधेयक–२०८० लाई पारित गर्नका लागि प्रस्तुत गर्नुभएको प्रस्ताव बहुमतले पारित भएको हो । आर्थिक मामिलामन्त्री आले मगरले प्रस्तुत गरेको दुवै विधेयकसम्बन्धी प्रस्तावलाई सभामुख कृष्णप्रसाद धितालले प्रदेशसभामा निर्णयार्थ प्रस्तुत गरेका थिए । दुवै प्रस्तावका पक्षमा प्रदेशसभाको बहुमत देखिएकाले सभामुख धितालले बहुमतले विधेयक पारित भएको घोषणा गरेका थिए । प्रदेशसभा सदस्य गोविन्दबहादुर नेपाली, यशोदा रिमाल, देवका पहाडी त्रिपाठीलगायत आठ जना प्रदेशसभा सदस्यले राख्नुभएको बजेट संशोधनको प्रस्ताव प्रदेशसभाको बहुमतद्वारा अस्वीकृत भएको थियो । बजेट पारित हुनुअघि विनियोजन विधेयक र आर्थिक विधेयकमाथि प्रदेशसभामा दफाबार छलफल भएको थियो । सरकारले आगामी आवका लागि रु ३३ अर्ब ४२ करोड ७२ लाखको बजेट ल्याएको छ । चालुतर्फ रु १२ अर्ब १३ करोड ६७ लाख र पूँजीगततर्फ रु २० अर्ब १९ करोड रहेको छ ।
तातोपानी गाउँपालिकाले एमबिबिएस अध्ययनका लागि १५ लाख छात्रवृत्ति दिने जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकाले पालिकाभित्रका जेहेन्दार, दलित तथा अल्पसङ्ख्यक छात्रछात्रालाई एमबिबिएस अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने भएको छ । गाउँपालिकाको आव २०८०/८१ को नीति, कार्यक्रम र बजेटमा यहाँका विद्यार्थीले मान्यता प्राप्त शिक्षण संस्थाबाट एमबिबिएस अध्ययनका लागि प्रवेश परीक्षा उत्तीर्ण भएको खण्डमा उक्त विद्यार्थीलाई पहिलो वर्षको पढाइ खर्चका लागि प्रत्येक वर्षमा एक जनालाई एमबिबिएस छात्रवृत्ति शिर्षकमा रु १५ लाख रकम विनियोजन गरिएको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले बताए । “चिकित्साशास्त्रमा स्नातक तह (एबिबिएस) अध्ययन गर्ने विद्यार्थीलाई नीति तथा कार्यक्रमबाट बजेटको व्यवस्थापन गरेका छौँ”, अध्यक्ष चौलागाईंले भने, “पालिकाको दक्ष जनशक्ति उत्पादनमा टेवा पुग्नुका साथै स्वास्थ्य सेवा प्रवाहमा सकारात्मक प्रभाव पर्ने भएको छ ।” एमबिवबिएस अध्ययन गर्नलाई एक वर्षको अध्ययन शुल्कमा प्रतिवर्ष एक जना विद्यार्थीलाई ५० प्रतिशत छात्रवृत्ति पालिकाले उपलब्ध गर्ने अध्यक्ष चौलागाईंको भनाइ छ । एमबिबिएस प्रवेश परीक्षामा पास भएका तातोपानीका विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था मिलाइएको प्रमुख प्रशनसकीय अधिकृत तीर्थबहादुर कठायतले जानकारी दिए । गाउँपालिकाको वडा नं ५ मा निर्माण हुने पाँच शय्या अस्पतालको निर्माण कार्यलाई छिटो सम्पन्न गरी आवश्यक चाहिने पाँच शय्या अस्पतालको स्थायी दरबन्दी तत्काल स्वीकृतिका लागिसम्बन्धी निकायमा पहल गरी सञ्चालनमा ल्याइने गाउँपालिका उपाध्यक्ष रेवती रावलले बताए । एमबिबिएस पढिसकेपछि कम्तीमा दुई वर्षसम्म निःशुल्क पाँच शय्याको अस्पतालमा सेवा दिने गरेर कार्यविधि बनाउन लागि परेको गाउँपालिका अध्यक्ष चौलागाईंलेको भनाइ छ । पालिकाका प्रत्येक माध्यमिकस्तरका सामुदायिक विद्यालयमा नर्सिङ सेवा सञ्चालनका लागि नीति तथा कार्यक्रमा ल्याइएको तातोपानी गाउँपालिकाले जनाएको छ । यसअघि जिल्लाको पातारासी गाउँपालिकाले एमबिबिएस अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।
भरतपुर महानगरको वडा नम्बर २३ बालश्रम मुक्त तथा बालमैत्री वडा घोषणा चितवन । भरतपुर वडा नम्बर २३ लाई बालश्रम मुक्त तथा बालमैत्री वडा घोषणा गरिएको छ । शुक्रबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारीले संयुक्त रुपमा बालमैत्री वडा घोषणा गरेका हुन्। भरतपुर २१ बालमैत्री वडा घोषण भएसँगै भरतपुरका ४ वटा वडा बैलमैत्री घोषणा भएका छन् । यस अघि भरतपुर १४, १३, २३ घोषणा भइसकेको छ । भरतपुरलाई आथिर्क वर्ष २०८३ ०८४ मा पूर्ण बालमैत्री घोषणा गर्ने लक्ष्य लिएको छ । बालमैत्री वडा तथा नगर घोषणा गर्न ५१ वटा सूचकहरु तय गरिएको छ । त्यसमध्ये केही सुचक सत प्रतिशत र केही ८० प्रतिशत पुरा भए घोषणा गर्न मिल्ने व्यवस्था छ। यी सूचकहरु पुरा भएकाले वडा नम्बर २१ लाई बालमैत्री वडा घोषाणा गरिएको सामाजिक तथा स्वास्थ्य महाशाखा प्रमुख शान्ताकुमारी पौडेलले जानकारी दिइन्। वि.सं. २०७६ सालमा भरतपुर–१४ लाई बालमैत्री वडा घोषणा गरिएको थियो। भरतपुरलाई बालमैत्री नगर बनाउन २०६८ सालदेखि नै अभियान थालिएको हो। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सिङ्गो महानगरपालिकालाई बालमैत्री महानगरपालिका घोषणा गर्ने अभियान जारी रहेको उल्लेख गरिन्। उनले बालबालिकाको शिक्षा स्वास्थ्य लगायतका कुरामा आफुहरु लागिपरेको भन्दै अभिभावक पनि जिम्मेवार भएर लाग्न अुरोध गरिन्। । अपाङ्गता भएका बालबालिकाहरुको शिक्षाका लागि छुट्टै स्रोत कक्षा समेत सञ्चालन गरिएको उनले जानकारी दिइन्। महानगरपालिका भित्र ७८ जना बालबालिका विद्यालय बाहिर रहेको छन्। महानगरपालिकामा सडक बालबालिका समेत नरहेको उनले बताइन्। भरतपुरमा बालबालिकाविरुद्ध हुने सबै खाले हिंसाहरु, यातनाहरु, भेदभाव, शोषणबाट मुक्त गराई सभ्य, सुन्दर र समृद्ध महानगर बनाउन प्रतिवद्ध रहेको उनको भनाई छ। उपप्रमुख चित्रसेन अधिकारीले बालमैत्री वडा कायम राख्न सबै पक्षले विशेष चासो र चिन्ता लिनुपर्ने बताए। अधिकारीले महानगरपालिका पूर्वाधार विकाससँगै सामाजिक र मानव अधिकारका विषयमा त्यतिकै ध्यान दिएको बताए। घोषणा गर्ने तर व्यवहारमा फरक नहुने परम्परा रहेको भन्दै सबै वडावासी जिम्मेवार बन्न आग्रह गरे। बालमैत्री घोषणासँगै थप चुनौती र जिम्मेवारी थपिएको उनको भनाई छ। प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बालमैत्री घोषणा गरेर यसलाई कायम राख्न सधै सबै पक्ष क्रियाशिल हुनुुपर्ने बताए ।बालबालिकालाई केन्द्रविन्दुमा राखेर महानगरपालिकाले काम गरेको उनको भनाई छ । कार्यक्रम वडा अध्यक्ष कृष्णकुमार गुरुङको अध्यक्षतामा भएको थियो।
तामागढी-सिम्रौनगढ सडकको मुआब्जा वितरण गर्न १० करोड ३० लाख विनियोजन बारा। बाराको तामागढी– सिम्रौनगढ हुलाकी मार्गमा अधिग्रहण भएको जमिनको मुआब्जाको लागि सरकारले १० करोड ३० लाख रुपैयाँ विनियोजन गरेको छ। बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य अच्युत मैनालीको पहलमा सरकारले सो रकम बिनियोजन गरेको हो। सांसद मैनालीका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा हुलाकी राजमार्ग योजना कार्यालय पर्सा वीरगञ्जमार्फत वितरण गर्ने गरी रकम विनियोजन भएको छ। हुलाकी मार्गअन्तर्गत आयोजनाले अधिग्रहण गरेको जमिनको मुअब्जा लामो समयदेखि जग्गाधनीले नपाएको भन्दै मैनालीले प्रतिनिधि सभा बैठकमा पटक पटक सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए। सांसद मैनालीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग संसदमा भएको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा समेत पीडितले पाउनुपर्ने मुआब्जाको विषयमा प्रश्न गरेका थिए। त्यसैगरी २०८०/८१ को बजेट निर्माणको क्रममा समेत सांसद मैनालीले मुआब्जा वितरणको लागि बजेटको व्यवस्था गर्न भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा समेत पत्राचार गरेका थिए।
गाउँगाउँमा पुग्यो ट्रयाक्टर, गोरु पाल्न छोड्दै किसान ढोरपाटन। गाउँमा गोठ रित्तै छन्। उत्पादन हुने खेतीयोग्य जमिन घट्दै गएका छन्। युवा शक्ति शिक्षा तथा रोजगारीका लागि विदेश पलायन भएका छन् भने वृद्धवृद्धाले भारी काम गर्न सक्दैनन्। पहिलेपहिले गाउँमा गोठभरि गाईभैँसी, गोरु र बाख्रा हुन्थे। बस्तुभाउको गोबर र स्याउला मिलाएर मल बनाइन्थ्यो र त्यहीँ मल खेतीका लागि प्रयोग गरिन्थ्यो। छरछिमेकी भएर अर्मपर्म गरी खेतबारीमा मल पुर्‍याइन्थ्यो र खेतीपाती गरिन्थ्यो। भित्र्याउने बेला पनि छिमेकी मिलेर काम गर्थे। कसैलाई पनि पारिश्रमिक दिएर काम गराउनु पर्दैनथ्यो। काम गर्न जति पनि जनशक्ति पाइन्थ्यो। अहिले गाउँमा न काम गर्ने जनशक्ति पाइन्छन्, न अर्मपर्म गर्न छरछिमेकी नै। बजारसँगै गाउँमा पनि बस्तुभाउ पाल्नाको सङ्ख्यामा कमी आउन थालेपछि खेतबारीमा मल पुर्‍याउन गाह्रो परेको बागलुङ नगरपालिका–५ का किसान कृष्णबहादुर थापाले बताए। गाईभैँसी पाल्नेको कमी भएसँगै खेतबारीमा अहिले रासायनिक मलको प्रयोग बढ्न थालेको उनको भनाइ थियो। उनका अनुसार जोत्नका लागि आधुनिक हलो (मिनीटेलर) तथा ट्र्याक्टरको प्रयोग हुँदै गएका छन्। एकदशक अगाडिसम्म सिँचाइ सुविधा नहुँदा आकाशे पानीको भरमा पनि धेरै क्षेत्रफल खेत रोपाइँ गर्ने किसानले अहिले सिँचाइको राम्रो व्यवस्था हुँदा पनि रोपाइँ गर्ने जमिन थोरै हुँदै गएको थापाले बताए। उनले अहिले गाउँमा हल गोरु भेट्याउनै मुस्किल पर्ने जनाए। “बुढापाकाले पूर्णिमाका दिन खेतबारी जोत्न हुँदैन भन्ने परम्परागत मान्यता थियो। अहिले आधुनिक हलोको प्रयोग गरेर किसानले जहिले पनि खेतपानी जोत्ने गर्छन् । यसले हाम्रो सांस्कृमा समेत प्रभाव पारेको छ”, थापाले भने, “पहिले एक हल गोरुले एक दिनमा गर्ने काम मिनीटेलरले दुई घन्टामै सक्ने हुँदा आधुनिक हलोको प्रयोग बढ्दै गएको हो।” उनले आफ्ना पालामा अहिलेको जस्तो आधुनिक हलको विकास नभएको हुँदा हल गोरुको विकल्प नभएको बताए। पछिल्लो समय आधुनिकताले गर्दा स्थानीयले गोरु पाल्न छोडेका उनको भनाइ थियो। “हाम्रा बाउबाजेले गोठमा दुई/तीन हल गोरु पाल्थे, खेतबारी जोत्ने बेला गाउँभरिका मान्छेको खेतबारी जोत्न जान्थे, अन्य समय वन पाखामा चराउने, गोबरबाट मल बनाउने गरिन्थ्यो, अहिले खेतमा मल पुर्‍याउनै सकिन्न, गाईभैँसी पाल्न छोडियो”, थापाले भने, “बजार गयो युरिया मल किनेर ल्यायो, बारीमा खन्यायो। रसायनिक मलको प्रयोगले किसानलाई धेरै सहज बनाएको छ तर पशुचौपाया पाल्ने परम्परा हराउँदै गएको छ।” ढोरपाटन नगरपालिका–५ का ओमबहादुर घर्तीले सहरबजारमा मात्र नभई गाउँसम्म आधुनिक हलो आएपछि स्थानीयले गाईगोरु पाल्न छोडेको बताए। उनले अघिल्लो वर्षसम्म आफूले दुई हल गोरु पाल्दै आएकामा अहिले गोठ रित्तै रहेको बताए। पहिले २०/२५ मुरी धान फल्ने खेतमा धान रोप्ने गरेको सुनाउँदै अहिले काम गर्न मान्छे नहुँदा १० मुरी मात्रै धान खेतमा रोपाइँ गरेको उनले बताए। गाउँलेको बजार मोहले ग्रामीण जनजीवन हराउन थालेको उनको भनाइ थियो। “असार लागेदेखि साउन नसकिदासम्म रोपाइँ हुन्थ्यो, त्यस अवधि पूरै पर्ममा गइन्थ्यो, गाउँभरिका खेताला हुन्थे, रोपाइँ गर्दा बारीमा मकै कुटाउँदै निकै रमाइलो पनि हुन्थ्यो, अहिले त्यो चलन हरायो”, घर्तीले भने, “अहिलेका मान्छेले धेरै सुविधा खोज्न थाले, घरको काम गर्न पनि गाह्रो मान्छन्। अहिलेका युवा सहर/बजार बस्ने, विदेश जाने भन्छन्, पढे लेखेका छन्। हामीले जस्तो पशुचौपाया पाल्न खोज्दैनन्, त्यही भएर गाउँमा गाई, गोरु, भैँसी र पाठापाठी निकै कम छन्।” उनले आधुनिक हलोले जोत्दा बाली उत्पादन राम्रो नहुने भन्दै आफूले गाउँमा खोजेरै भए पनि गोरुले जोत्ने गरेको बताए। गोरुले जोत्ने पुरानो परम्परा रहेको हुँदा आफ्नो हात पाखुरा चल्दासम्म आधुनिक हलोको प्रयोग नगर्ने घर्तीको भनाइ थियो। अहिले गाउँका धेरैजसो खेतबारीमा खेती नहुँदा वनमारा झारले भरिन थालेको उनले अनुभव सुनाए। कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले ग्रामीण क्षेत्रमा आधुनिकीकरणसँगै परम्परागत शैलीका खेतीपातीलाई पनि जोड दिने बताए। केही वर्षयता गाउँका कृषकले आधुनिक हलो प्रयोग गर्न थालेको भन्दै गोरुमार्फत जोत्ने कृषकलाई पनि ज्ञान केन्द्रले प्रेरित गर्ने उनको भनाइ थियो। पछिल्लो समय आधुनिक हलो र रसायनिक मलको प्रयोग बढ्दै गएकाले पशुचौपाया पाल्ने किसानको सङ्ख्यामा कमी आएको बताउँदै प्रमुख भट्टराईले आगामी वर्षदेखि पशुपालन गर्ने कृषकलाई केन्द्रले अनुदान दिने र प्रोत्साहन गर्ने योजना बनाएको जानकारी दिए। “अहिले पनि धेरै किसानले आधुनिक हलो मनपराउनु भएको छैन। काम गर्ने जनशक्तिको अभाव र गोरु नपाएपछि बाध्यताले मिनिटेलर प्रयोग गर्नुभएको छ। उहाँहरुलाई कृषि ज्ञान केन्द्रले सहयोग गर्नुपर्ने सामग्री अनुदानमा सहयोग गरिरहेको छ”, उनले भने, “बजारी क्षेत्रमा आधुनिक हलोको प्रयोग गरे पनि गाउँमा गोरुबाटै जोत्नुपर्छ भन्ने मान्यता रहेकाले गोरु पाल्ने कृषकलाई पनि अनुदान दिने व्यवस्था मिलाउन लागेका छौँ।” प्रमुख भट्टराईका अनुसार आधुनिक हलो प्रयोग गर्ने र व्यावसायिकरुपमा कृषि पेसामा लाग्नुभएका कृषकलाई अनुदानमा आधुनिक हलो दिने गरिएको छ।
मल अभाव छैन : कृषि सामग्री कम्पनी चन्द्रपुर। रौतहटमा यस वर्ष रासायनिक मलको अभाव नहुने भएको छ। किसानको माग बमोजिम मलखादको व्यवस्था गरिएको कृषि सामग्री कम्पनी लिमिटेड चन्द्रपुर रौतहटले जनाएको छ। यसअघि बर्सेनि जिल्लामा रसायनिक मलको अभाव हुने गरेको थियो। लिमिटेडले अहिले किसानको आवश्यकताअनुसार मल वितरण गर्दै आएको छ। लिमिटेडले स्थानीय तहको सिफारिसअनुसार रसायनिक मल वितरण गर्दै आएको छ। प्रदेश सरकारले जिल्ला गत खेतीयोग्य जमिनका आधारमा निर्धारण गर्ने र सोही आधारअनुसार कृषि ज्ञान केन्द्रले स्थानीय तहलाई पत्र पठाउने गरेको छ। सोहि पत्रअनुसार स्थानीय तहले सहकारी संस्थालाई रासायनिक मलको कोटा निर्धाण गर्ने जनाइएको छ। जिल्लाका १८ स्थानीय तहबाट प्राप्त कोटा निर्धारणको पत्रअनुसार रासायनिक मल वितरण गरेको लिमिटेडले जनाएको छ। स्थानीय तहले कोटा निर्धारण गरे पनि मागअनुसारको मल नपाएको विन्दवासिनी कृषि सहकारी संस्थाका व्यवस्थापक जनार्दन कोइरालाले बताए। उनका अनुसार चन्द्रपुर वडा नम्बर पाँचका लागि तीन हजार युरिया र डिएपी माग गरिएको हो। लिमिटेडबाट भने चार सय पाँच बोरा युरिया र दुई सय ५० बोरा डिएपी पाएको उनको भनाइ छ। डिलरले माग गरेअनुसारको रासयानिक मल पाउन नसकेको उनको गुनासो छ। लिमिटेडको चन्द्रनिगाहपुरमा एक सय ७४ डिलर छन्। एक सय ५० भन्दा बढीले रासायनिक मल लगिसकेको लिमिटेडका निमित्त प्रमुख गोपालप्रसाद घिमिरेले बताए। हालसम्म ७३।१ सय मेट्रिकटन युरिया र ४८।९ सय मेट्रिकटन डिएपी मल बिक्री गरिसकिएको उनले जानकारी दिए। उनका अनुसार यहाँ एक सय २०.७५० मेट्रिकटन युरिया र ६०६.५ डिएपी र ४२ मेट्रिकटन कृषि चुन मौज्दात रहेको छ। कृषि सामग्रीको खरिद मूल्य प्रतिबोरा युरिया मलको आठ सय पाँच र डिएपीको दुई हजार दुई सय ५५ रुपैयाँ छ भने स्थानीय तहअनुसार बिक्री मूल्य निर्धारण हुने निमित्त कार्यालय प्रमुख घिमिरले जानकारी दिए। जिल्लामा ५३ हजार पाँच सय ४६.३८ हेक्टर खेतीयोग्य जमिन रहेको छ। रासायनिक मल वितरण निर्देशिका अनुसार स्थानीय तहमा उपप्रमुखको संयोजकत्वमा तीन सदस्य समिति रहने गर्छ। सो समितिमा प्रमुख प्रशासकीय अधिकृत र सदस्य सचिवमा कृषि शाखा प्रमुख रहन्छन्। सो समितिले बिक्री मूल्य निर्धाण, डिलर सिफारिस, बाँडफाँट गर्ने, सुपरीवेक्षण र निरीक्षण र कारबाही गरी खारेजी गर्नसक्ने अधिकार र जिम्मेवारी दिइएको छ। – रासस
पढाइ छाडेको २१ वर्षपछि वडाध्यक्ष एसइई उत्तीर्ण बेनी। म्याग्दीको मंगला गाउँपालिका-१ कुहुँका वडाध्यक्ष एकजित रोकाले पढाइ छाडेको २१ वर्षपछि एसइई परीक्षामा उत्तीर्ण भएका छन्। माध्यमिक शिक्षा परीक्षा, २०७९ (एसइई) मा दीपशिखा मावि कुहुँबाट परीक्षामा सहभागी भएका वडाध्यक्ष रोकाले दुई दशमलव ६५ जिपिए ल्याएर उत्तीर्ण भएका हुन्। विसं २०५८ मा एसएलसी परीक्षामा सामेल भएका रोकाले अनुत्तीर्ण भएपछि पढाइ नै छाडेका थिए। एसएलसीमा फेल भएपछि उनले वैदेशिक रोजगारको सिलसिलामा मलेसिया र अफगानिस्तानमा आठ वर्ष बिताएका थिए। उनी २०६९ सालमा घर फर्किएका थिए। घर फर्किएपछि रोका स्थानीय देउराली युवा क्लबलगायतका संघ संस्थामा आबद्ध भएका थिए। उनी गत वर्षको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) बाट उम्मेदवार बनेर वडाध्यक्षमा निर्वाचित भएका थिए। सामाजिक र राजनीतिक जीवन सुरु गरेपछि धेरै आफन्तबाट पढाइलाई निरन्तरता दिन सुझाव आएको र आफूलाई समेत पटक-पटक पढाइको आवश्यकताको महसुस भएपछि एसइई परीक्षा दिएको वडाध्यक्ष रोकाको भनाइ छ। यसैबीच, राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा २०७९ (एसइई) को नतिजामा म्याग्दीका एक विद्यार्थीले ४ जिपिए ल्याउन सफल भएका छन्। सदरमुकाम बेनीस्थित प्रकाश माध्यमिक विद्यालयका समिर सुवेदीले ४ जिपिए नतिजा ल्याएका हुन्। शिक्षा विकास तथा समन्वय एकाइका एकाइ प्रमुख दलबहादुर थापाले यस वर्षको एसइई परीक्षामा म्याग्दीबाट सहभागी विद्यार्थीमध्ये सुवेदीले ४ जिपिए ल्याएर सर्वोकृष्ट बन्न सफल भएको बताए। रासस
रोपाइँको क्षेत्रफल बर्सेनि घट्दै गण्डकी। गण्डकी प्रदेशमा धान खेतीको क्षेत्रफल बर्सेनि घट्दो छ। आव २०७७/७८ एक लाख १२ हजार दुई सय २७ हेक्टरमा वर्षे धान लगाइएकामा गत आवमा धान खेती एक लाख चार हजार छ सय ३२ हेक्टरमा मात्र सीमित बन्यो। यस वर्ष अझ घटेर ९७ हजार आठ सय ५१ हेक्टर क्षेत्रफलमा वर्षे धान लगाइने अनुमान प्रदेशको कृषि विकास निर्देशनालयको छ। रोपाइँको क्षेत्रफल घटेसँगै धान उत्पादनमा पनि बर्सेनि गिरावट आइरहेको छ। गत आवको तुलनामा यो वर्ष ३.७४ प्रतिशतले धान कम फलेको थियो। निर्देशनालयको तथ्यांक अनुसार चालु आवमा तीन लाख ९१ हजार एक सय २१ मेट्रिक टन धान उत्पादन भएको हो। गत आवमा चार लाख छ हजार तीन सय ३६ मेट्रिक टन धान उत्पादन भएको थियो। यसले रोपाइँ हुने क्षेत्रफलसँगै उत्पादन पनि घट्दै गएको देखाउँछ। वर्षे मात्र नभएर चेतै धान खेतीको क्षेत्रफल खुम्चिएको छ। प्रदेशमा एकै वर्षमा एक हजार सात ३५ हेक्टर चैते धान खेतीको क्षेत्रफल घटेको हो। आव २०७७/०७८ मा सात हजार छ सय पाँच हेक्टरमा चैते धान खेती गरिएकामा अघिल्लो वर्षको हिउँदमा भने किसानले जम्मा पाँच हजार आठ सय ७० हेक्टरमा चैते धान लगाएका थिए। उत्पादन पनि ३२ हजार सात सय ७३ मेट्रिक टनबाट घटेर २७ हजार चार सय ३७ मेट्रिक टनमा पुगेको थियो। वर्षदिनको अन्तरमा १६.२८ प्रतिशतले चैते धानको उत्पादन घटेको हो । यो वर्षको चैते धान भने किसानले भित्र्याउन बाँकी छ। निर्देशनालयका कृषि प्रसार अधिकृत दीपा तिमिल्सिनाले वर्षे र चैते दुवै धानको उत्पादन र क्षेत्रफल बर्सेनि घट्दै गएको जानकारी दिइन्। खेतीयोग्य जग्गामा ‘प्लटिङ’, तीब्र बजारीकरण, ठूल्ठूला भौतिक निर्माण आदिका कारण खेतीयोग्य जग्गा खुम्चदैँ गएको छ। पछिल्लो समय जग्गा बाँझिने क्रम पनि बढ्दो छ। धान कम फल्नुमा क्षेत्रफल घट्नु मुख्य कारण भए पनि अन्य कुराले पनि उत्पादनमा प्रभाव पार्ने गरेको कृषि प्रसार अधिकृत तिमिल्सिनाले बताइन्। “मल, उन्नत बीउबिजनको अभाव, प्रतिकुल मौसम जस्ता कारणले पनि उत्पादन घट्छ, मुख्य कारण रोपाइँ हुने क्षेत्रफल घट्दै जानु हो”, उनले भनिन्। बेलैमा मल, बीउ नपाउँदा पनि धान खेतीमा असर पर्ने गरेको किसान बताउँछन्। धानमा फूल खेल्ने समयमा बर्सात हुँदा पनि उत्पादनमा क्षति पुग्ने गरेको छ। रोककिरा नियन्त्रण, उन्नत बीउ, मल व्यवस्थापनमा किसानले सधैँ चुनौती व्यहोर्दै आएका छन्। घरघडेरीका नाममा धानको उब्जाउ क्षेत्र नासिँदै गएको छ। धानका पकेट क्षेत्रमा भौतिक विकास र बजारीकरण तीव्र छ। खेती गर्ने जमिनमा धमाधम घर ठड्याउने प्रवृत्तिले देशलाई खाद्यान्नमा झनझन परिनिर्भर बनाउँदै लाने कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले बताए। उनले चैते धानप्रति किसानको आकर्षण घट्दै गएको उल्लेख गरे। “चैते धान भित्र्याउने बेला बर्सातको याम पर्ने भएकाले पनि किसानलाई मर्का पर्ने गरेको छ, पानीमा भिजेको धान बेच्न समस्या हुन्छ, पराल पनि बिग्रन्छ”, प्रमुख भट्टराईले भने, “किसानले पछिल्लो समय चैते धानको सट्टा तरकारीलगायत नगदे बाली लगाउन थालेका छन्।” चैते धानमा ‘सिएच’ ४५, चैते २, चैते ६ लगायतका जातको खेती हुँदै आएको छ। बाह्रैमास सिँचाइ सुविधा भएको ठाउँमा मात्र किसानले चैते धान लगाउने गरेका छन्। तराईदेखि उच्च पहाडसम्म चैते धान फल्छ। किसानले चैतमा रोपेपछि असारमा धान भित्राउँछन्। प्रमुख भट्टराईले धान खेती जोगाउन खेतीयोग्य जमिनमा मनपरी रुपमा भइरहेको ‘प्लटिङ’ रोक्नुपर्ने बताए। उन्नत बीउबिजन, खेतीको सीप र प्रविधिमा राज्यले किसानलाई सघाउनुपर्ने उनको भनाइ थियो। कृषि प्रसार अधिकृत तिमिल्सिनाका अनुसार गण्डकी प्रदेशका किसानले सावित्री, रामधान, जेठोबुढो, खुमल, सुक्खा, एक्ले, पहेँले, गौरिया, मनसुली, सुनौलो सुगन्धलगायत जातका धानको खेती गर्दै आएका छन्। हिमालपारिको जिल्ला मुस्ताङ र मनाङबाहेक प्रदेशका नौ जिल्लामा धान खेती हुँदै आएको छ। यही असार १५ गतेसम्ममा गण्डकी प्रदेशमा १८ प्रतिशत क्षेत्रफलमा मात्र रोपाइँ भएको निर्देशनालयले जनाएको छ। सबैभन्दा बढी कास्कीमा ३० प्रतिशत र सबैभन्दा कम नवलपुरमा १० प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ। सो अवधिमा १७ हजार एक सय ७४ हेक्टरमा रोपाइँ गरिएको कृषि प्रसार अधिकृत तिमिल्सिनाले जानकारी दिए। मनसुन सक्रिय भएसँगै यतिबेला किसान रोपाइँको चटारोमा छन्। बाह्रैमास सिँचाइ सुविधा भएका, खोला आसपासका र दुई बाली फल्ने खेतमा रोपाइँ छिटो सुरु हुन्छ। गोरखाको छेवेटार, पालुङटार, लमजुङको धमिलीकुवा, हर्राबोट, तनहुँको चुँदीफाँट, सत्रसय फाँट, कास्कीको मकैखोला, हाडीखोला, पामे, लेखनाथ, पर्वतको फलेवास, जलजला, स्याङ्जाको पुतलीबजार, आँधीखोला, गल्याङ, म्याग्दीको भगवती, पिप्ले बागलुङको बडिगाड, गलकोट, जैमिनी र नवलपुरको कावासोती, गैँडाकोटलगायत धानका प्रमुख पकेट क्षेत्र हुन्।
दुई सातादेखि मेची राजमार्ग अवरुद्ध, पाथीभरा आउने भक्तजन प्रभावित फुङ्लिङ । दुई सातादेखि मेची राजमार्ग अवरुद्धका कारण पाथीभरा आउने भक्तजन प्रभावित भएका छन् । मेची राजर्मागअन्तर्गत पाँचथरको हेवा खोलामा रहेको मोटरेबल पुल पहिराले बगाएसँगै ताप्लेजुङमा अवस्थित पाथीभरामा आउने भक्तजनकाे कमी आएको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले बताए । गत असार ३ गते राति वर्षासँगै गएको बाढीपहिराले अवरुद्ध भएको मेची राजमार्ग अझै सञ्चालन आउन सकेको छैन । पाँचथर जिल्लाको हेवा खोलामा रहेको मोटरेबल पुल बाढीले बगाएसँगै अहिले ताप्लेजुङसँग अन्य जिल्लाको सडक सञ्जालले विच्छेद भएको छ । विभिन्न जिल्लाका यातायातका साधन ताप्लेजुङ प्रवेश हुन नसकेसँगै पाथीभरा मन्दिर पूजापाठ गर्न आउने भक्तजनको सङ्ख्यामा कमी आएको हो । विगतमा दैनिक एक हजारको हाराहारीमा आउने भक्तजनको सङ्ख्या अहिले एक सयभन्दा कम हुन थालेको महतले बताए । समयमै पुल नबन्दा यात्रुलाई सास्ती खेप्नु परेको छ । ताप्लेजुङ जिल्लाबाट अन्य जिल्ला जानका लागि पाँचथरको हेवा खोलावारीसम्म पुगेर खोलामाथि बनाइएको फड्के पुल तरेर वारि पाँचथर जिल्लाबाट अर्को गाडी चढ्नुपर्ने बाध्यता छ । तीन साता भइसक्दा पनि राजमार्ग पुनः सञ्चालनमा आउन सकेको छैन । पुल बाढीले बगाएसँगै ताप्लेजुङ, पाँचथरका हिलिहाङसहित फालेलुङ र याङवरक गाउँपालिकासँग सडक सम्पर्क विच्छेद भएको छ । बाढीले पुल बगाएपछि बनाउन थालिएको बेलिब्रिज अझै सकिएको छैन । बेलिब्रिज बन्न ढिलो हुँदा यो क्षेत्रका बासिन्दाले ठूलो सास्ती खेपिरहेका छन् । राजमार्गमा पुल भत्किएपछि सरकारले चासो नदिएको भने होइन । पुल बगाएकै दिन सरकारले तत्काल बेलिब्रिज हाल्ने निर्णय गरेको थियो । त्यही दिन कोशी प्रदेशका मन्त्री, सुरक्षा निकायका प्रदेश प्रमुख जिल्ला आएका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफँै निरीक्षणमा आउँदा प्रतिकूल मौसमका कारण हेलिकप्टर बस्न सकेन । केही दिन अगाडि मात्र विभागीय प्रमुखहरूसँग भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले स्थलगत अवलोकन गरेका थिए । सरकारले नै निकै चासो राख्दा पनि यत्रो दिनमा राजमार्ग सञ्चालन आउन सकेको छैन । अहिले ताप्लेजुङमा खाना पकाउने ग्यास, खाद्यान्नलगायतका सामग्री अभाव भइसकेको ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण थापाले बताए । लामो समय राजर्माग अवरुद्ध हँुदा ताप्लेजुङ जिल्लामा खाद्य वस्तु तथा दैनिक उपभोग्य वस्तुहरूको आपूर्ति हुन नसकेको ताप्लेजुङ उद्योग वाणिज्य सङ्घले जनाएको छ । सरकारले सारा शक्ति लगाएर काम सक्नुपर्ने हो तर १९ दिन बितिसक्दा पनि बेलीब्रिज सञ्चालनमा नआउँदा दैनिक हजारौँको सङ्ख्यामा यात्रुहरूलाई सास्ती खेप्नुपरेको छ । छिटोभन्दा छिटो बेलिब्रिज बनाउने प्रयास भइरहेको सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले बताए । उनले भने, “बेलिब्रिज बनाउने काम नागरिक अपेक्षाअनुसार केही ढिला भएकै हो । आवश्यक सामग्री समयमै पु¥याएका थियौँ । फाउण्डेशन बनाउन नै बाढीले समस्या गरायो, जतिसक्दो छिटो काम सम्पन्न गर्न सबै हिसाबले लागेका छौँ ।” सडक विभागका अनुसार बढीमा एक हप्तामा काम सकिने गरी निर्माण कार्य भइरहेको छ ।