content
stringlengths 20
64.1k
⌀ |
---|
आज अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस, विभिन्न कार्यक्रम गरि मनाइँदै काठमाडाैं। अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी आज मनाइँदैछ।
यो दिवस मानव बेचबिखन उन्मूलन गर्न सचेतना जगाउने र त्यसका लागि विश्वव्यापी प्रतिबद्धतालाई सुढृढ गर्न महत्त्वपूर्ण छ। यस वर्ष ‘बेचबिखनका प्रत्येक पीडितसम्म पुगौँ, कसैलाई न्यायबाट बञ्चित नगरौँ’ भन्ने नारासहित यो दिवस मनाइँदैछ।
नाराले बेचबिखन पीडितले भोग्ने शोषणको अन्त्य र उद्धारपछिको पुनःस्थापनाको सुनिश्चितता र बेचबिखनको जोखिममा रहेका समूहको संरक्षणको सन्देश दिएको छ।
सामान्यतया प्रलोभनमा पारी, झुक्याई, डरत्रास देखाई कुनै पनि व्यक्तिलाई उसको इच्छाविपरीत कुनै न कुनैरूपमा शोषण गर्ने वा नाफा कमाउने उद्देश्यले जबर्जस्ती कुनै पनि कार्य गर्न बाध्य तुल्याइने अवस्थालाई नै मानव बेचबिखन भन्ने गरिन्छ।
मानवको बेचबिखन तथा ओसारपसार बालश्रम, बाल दासत्व, धर्मपुत्र धर्मपुत्री, बालविवाह, बधुवा श्रम तथा दासत्व, मानव अङ्ग प्रत्यारोपण, यौन दासत्व, व्यावसायिक यौन शोषण, गैरकानुनी आप्रवासन आदि कार्यका लागि भइरहेको देखिन्छ।
संयुक्त राष्ट्रसंघका अनुसार विश्वव्यापी सङ्कट, द्वन्द्व र जलवायु आपत्कालले मानव बेचबिखनको जोखिम बढिरहेको छ । विस्थापन र सामाजिक आर्थिक असमानताले असर परेका लाखौँ मानिस मानव बेचबिखनका तस्करको चपेटामा परेका छन्।
यस्तै गरिबी, बेरोजगारी, शिक्षा र स्वास्थ्यमा पहुँच नभएका, भेदभाव, हिंसा, दुव्र्यवहारमा परेका व्यक्ति एवं सीमान्तकृत समुदाय मानव तस्करको नजरमा पर्ने गरेका छन्।
संयुक्त राष्ट्रसंघअन्तर्गतको लागुऔषध र अपराधसम्बन्धी कार्यालयका अनुसार विकासशील राष्ट्रहरूमा मानव बेचबिखनप्रतिको प्रतिक्रिया घट्दै गएको छ। सन् २०२० मा मानवबेचबिखन पत्ता लगाउने दर ११ प्रतिशतले घटेको र मावबेचविखनविरुद्ध सजायको दर २७ प्रतिशतले घटेको थियो।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको राष्ट्रिय प्रतिवेदन, २०७६ अनुसार पछिल्लो समय महिला र बालबालिकाको एसिया, अरब, अफ्रिका, युरोप र अमेरिकाका अन्य विभिन्न मुलुकमा समेत बेचबिखन तथा ओसारपसार हुन थालेको छ।
मानव बेचबिखनको आयाम फराकिलो बन्दै गएकाले यसको नियन्त्रण चुनौतीको विषय बन्दै गएको छ। मानव बेचबिखन नियन्त्रणका लागि समयसाक्षेप कानुनको संशोधन र निर्माण गर्न आवश्यक भएको यस क्षेत्रमा काम गर्दै आएका साझेदार संस्थाहरूको भनाइ छ।
“मानव बेचविखन तथा ओसारपसार नियन्त्रण गर्न हाम्रा कानुन अपुग र अव्यवहारिक छ”, समाजशास्त्री मीना पौडेल भन्छिन्, “पहिल्यैतिर लोभलालच वा झुक्याएर बेचबिखन हुन्थ्यो, अहिले यसको आयाम फराकिलो भएको छ । अहिले महिलामात्र होइन, पुरुष पनि यसको जोखिममा छन्।” |
मनाइयो विश्व बाघ दिवस काठमाडौं । विश्वमा बाघको संरक्षणलाई विशेष महत्त्व दिँदै आज यहाँ बाघ दिवस मनाइएको छ । वन तथा वातावरणमन्त्री डा वीरेन्द्रप्रसाद महतोले चिडियाखानामा रहेका बाघलाई आहारा खुवाएर कार्यक्रम सुरुआत गरे ।
सदर चिडियाखानामा आयोजित कार्यक्रममा मन्त्री महतोले भने, “सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर बनाउने १३ देशले प्रतिवद्धता व्यक्त गरेकामा नेपालले अहिले तेब्बर बनाएको छ । यो विश्वमा गौरवको विषय भएको छ ।” उनका अनुसार बाघ बढेसँगै संरक्षणका चुनौती थपिएको छ । बासस्थान व्यवस्थापन, आहार प्रजाति संरक्षण, मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण, जलवायु परिवर्तन, सीमावर्ती क्षेत्रमा व्यवस्थापन सुधारलगायतका विषयमा ध्यान दिनुपर्ने उनको भनाइ छ ।
पछिल्लो समय देखिएको नयाँ रोगका कारण जनावर संरक्षणमा चुनौती थपिएको बताउँदै उनले भने, “अहिले हाम्रो सामुन्ने मुख्य चुनौती लम्पी स्किन रोग हो । यो रोग जङ्गलका वन्यजन्तुमा सर्यो भने घाँस खाने जनावर सखाप हुनेछन् । यसमा नेपाल सरकारलगायत संरक्षण सङ्घसंस्थाले छिटो ध्यान दिन जरुरी छ ।”
सो अवसरमा बाघ संरक्षण, व्यवस्थापनमा देखिएका चुनौतीलाई व्यवस्थापन गर्ने गरी सन् २०२३ देखि २०३२ सम्मका लागि तय गरिएको ‘बाघ संरक्षण कार्यनीति योजना’ समेत मन्त्री महतोले सार्वजनिक गरे । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता अजय कार्कीले बाघको आहारा संरक्षण, वन क्षेत्र वरपरका समुदायको जीवनस्तर उकास्ने र मानिसको आनीबानी परिवर्तनका विषयसमेत समेटेर तयार पारिएको योजना कार्यान्वयन गरिने विश्वास दिलाए ।
त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले यसै आर्थिक वर्षभित्र ज्येष्ठ नागरिक र अपाङ्गताका लागि १५ सिटको बस व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भक्तपुरको सूर्यविनायकमा सदर चिडियाखानालाई नसार्न वनमन्त्रीलाई आग्रह गरे ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा सिन्धुप्रसाद ढुङ्गानाको अध्यक्षतामा भएको कार्यक्रममा सदर चिडियाखानाले प्रमुख महर्जनलाई कोभिडको समयमा उत्कृष्ट वन्यजन्तु संरक्षणमा सहयोग गरेवापत सम्मान गर्यो । सन् २०२२ का तथ्याङ्कानुसार नेपालमा तीन सय ५५ वटा बाघ छन् । सन् २०१० मा रुसको बाघ सम्मेलनले हरेक वर्ष जुलाई २९ लाई विश्व बाघ दिवस मनाउने घोषणा गरेको थियो । |
सामुदायिक क्याम्पस एकआपसमा गाभ्नुपर्छ : मुख्यमन्त्री पाण्डे गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशका सामुदायिक क्याम्पसहरूलाई एकआपसमा गाभ्ने (मर्जर) प्रक्रिया अघि बढ्नुपर्ने बताएका छन् ।
नेपाल पब्लिक क्याम्पस सङ्घ गण्डकी प्रदेश अधिवेशनको आज पोखरामा उद्घाटन गर्दै उनले विद्यार्थी सङ्ख्या, लगानी सबैलाई हेर्दा सामुदायिक क्यम्पस एकआपसमा गाभ्दा लगानीअनुसारको प्रतिफल प्राप्त हुने विश्वास व्यक्त गरे ।
सरकारले उच्च शिक्षामा गरेको लगानीअनुसारको प्रतिफल प्राप्त हुन नसकेको बताउँदै मुख्यमन्त्री पाण्डेले कसरी प्रतिफल निकाल्न सकिन्छ भन्ने विषयमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याए ।
गण्डकी प्रदेश सरकारले सामुदायिक क्याम्पससँग प्रदेश सरकार कार्यक्रम सञ्चालन गर्ने नीति बनाएर कार्यक्रम सार्वजनिक गरी रु एक करोड ७५ लाख रकम विनियोजन गरेको जानकारी दिँदै उनले भने, “कार्यक्रमको प्रभावकारिताका आधारमा बजेटमा वृद्धि गरिनेछ ।”
क्याम्पसले शैक्षिक गुणस्तरमा ध्यान दिनुपर्ने, दक्ष युवा जनशक्ति विदेशिने दर न्यूनीकरण गर्न व्यावसायिक शिक्षामा केन्द्रित हुनुपर्नेमा जोड दिँदै उहाँले क्याम्पसको स्वामित्वमा जग्गा ल्याउने गरी कानुन निर्माण गरिने बताए ।
कार्यक्रममा प्रदेशका आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेमगर, कृषि तथा भूमि व्यवस्थामन्त्री महेन्द्रध्वज जिसी, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष कृष्णचन्द्र देवकोटा, सामुदायिक क्याम्पस सङ्घका केन्द्रीय अध्यक्ष शत्रुधन गुप्तालगायतको सहभागिता रहेको थियो ।
नेपाल सामुदायिक क्याम्पस सङ्घ गण्डकी प्रदेशका अध्यक्ष ऋषिराम बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशका विभिन्न क्याम्पसका सञ्चालक समितिका अध्यक्ष, प्राध्यापक सङ्घका अध्यक्ष र क्याम्पस प्रमुखको सहभागिता रहेको थियो । |
सद्भाव छर्दै मुहर्रम : हुसैनको त्याग र बलिदानको सम्झना लुम्बिनी । मुहर्रम प्रमुख इस्लामिक पर्व हो । यो हिजरी माह मुहर्रमको पहिलो दश दिनसम्म मनाइन्छ । इस्लामी समुदायको यो विशेष पर्वलाई हिन्दूहरूले पनि मनाउने भएकाले पछिल्लो समयमा मुहर्रम आपसी भाइचारा र धार्मिक सद्भावको पर्व बन्दै गएको छ ।
मुहर्रमको बढी महत्त्वपूर्ण दिन ‘आशूरा’ हो, जो मुहर्रमको दशौँ दिन पर्दछ । विभिन्न मुस्लिम समुदायका लागि यसको धार्मिक महत्त्व अलग–अलग हुनसक्छ । अधिकांश मुस्लिम समुदाय आशूरालाई अत्यन्त महत्त्वका साथ मान्ने भएकाले यसलाई विशेषरूपमा मनाउने गरेका छन् ।
भाकल गरी घरमा स्थापना गरिएको ताजियालाई पूजाअर्चना गर्नाले पारिवारिक सुख, समृद्धि तथा मनोकामना पूरा हुने जनविश्वास छ । साथै यो पर्व श्रद्धापूर्वक मनाउनाले परिवारिक सुख, शान्तिका साथै बिग्रेको कामसमेत बन्ने गरेको सामाजिक अभियान्ता रामदयाल ठाकुरले बताए ।
“हिन्दूहरू समेतले मनाउने भएकाले पछिल्लो समयमा मुहर्रमको रौनकता बढ्दै गएको छ । यो पर्व मान्नेहरूले ताजिया बनाइ ढोल, मजिरा, तासा बजाउँदै झर्रा आदि गीत गाउने चलन छ ।” मधेस मानवअधिकार गृह कपिलवस्तुका उपाध्यक्ष तथा सामाजिक अभियान्ता ठाकुरको भनाइ छ ।
आशूराका दिन ताजिया यात्रा गर्दै मुहर्रमका सहिदहरूको यादमा मातम मनाइन्छ र उहाँहरूलाई श्रद्धाञ्जलि दिइन्छ । यसको अतिरिक्त, सामाजिक तथा धार्मिक कार्यक्रम आयोजित हुन्छ । हिन्दूहरूले पनि यो पर्वलाई निराहार व्रत बसी शोक समारोहका साथ, ताजिया यात्रा गर्दै मनाउने गरेका छन् ।
इस्लामिक क्यालेन्डरअनुसार मुहर्रम इस्लाम धर्मको पहिलो महिना हो । यसलाई ‘हुरमतको महिना’का साथै ‘गम र मातम’को महिना पनि भनिन्छ । प्रत्येक वर्षको यो महिना पैगम्बर महोमदको नाति इमाम हुसेन ‘सहिद’को सम्झनामा हिन्दू र मुस्लिम समुदाय एकसाथ मनाउने गरेका छन् ।
सन् २०२३ मा मुहर्रम २० जुलाईबाट सुरू भएको छ, त्यसैले यो वर्ष २९ जुलाईमा मुहर्रम मनाइँदैछ । इस्लाम धर्मका अनुसार यो महिनाले न्याय र अधिकारका लागि विशेष महत्त्व र इतिहास बोकेको छ । यही महिनामा हजरत इमाम हुसैनले कर्बलाको लडाइँमा सहादत प्राप्त गरेका थिए ।
मुहर्रम महिनाको पहिलो दश दिन इमाम हुसेनको शोकका रूपमा मनाइन्छ । यसलाई आशूरा पनि भनिन्छ । हजरत इमाम हुसैन अफ्ना ७२ साथीसहित मोहर्रम महिनाको दशौँ दिन कर्बलाको मैदानमा सहिद हुनुभएकाले उहाँको सहादत र बलिदानीका लागि यो दिनलाई विशेषरूपमा सम्झिने गरिएको छ ।
“हजरत इमाम हुसैन न्याय, धर्म र अधिकारका लागि तत्कालीन इराकका बादशाह याजिदविरुद्धको लडाइँमा उहाँको सेनाबाट परिवारका सदस्य र अन्य साथीसहित कर्बलाको मैदानमा सहिद हुनुभएको थियो । उहाँ समानता, न्याय र दयालुताको लागि लड्ने गर्नुहुन्थ्यो”, अब्दुल्ला अलिगले बताए ।
तत्कालीन सल्तनतमा त्यहाँका नागरिकले अत्यधिक अन्याय भोग्नुपरेको उनले सुनाए । अब्दुल्ला अलिगलका अनुसार विशेषगरी त्यस्तै परम्परागत अधिकारको तत्कालीन राजनीतिक तथा धार्मिक वातावरणले त्यहाँका नागरिकलाई भयमुक्त हुन र आत्मनिर्भरता प्रदान गर्न असमर्थ बनाएको थियो ।
को थिए हजरत इमाम हुसैन ?
हजरत इमाम हुसैन पैगम्बर ए इस्लाम हजरत मुहम्मद साहबका नाति थिए । इमाम हुसैनका वालिद अर्थात् पिताको नाम हजरत ‘शेरेखुदा’ अली थियो, उनी पैगम्बर साहबको ज्वाइँ थिए । त्यसैगरी इमाम हुसैनको आमाको नाम बिबी फातिमा थियो ।
हजरत अली धार्मिक तथा सामाजिक मुखिया थिए । उनलाई चौथो खलिफा बनाइएको थियो । हजरत अलीको सहादतपछि मानिसहरू इमाम हसन (हुसैनका दाजु)लाई खलिफा बनाउने पक्षमा थिए, तर विद्रोह गरेर हजरत अमीर मुआविया खलिफा भए ।
“सन् ६० हिजरीमा तत्कालीन शासक याजिद इस्लाम धर्मको सम्राट बन्न चाहनुभयो । उहाँ सम्पूर्ण अरब आफ्नो नियन्त्रणमा लिन चाहनुहुन्थ्यो । त्यसैले इन्सानियत बचाउन याजिदको विरोधका इमाम हुसैनले कर्बलाको लडाइँमा सहिद हुनुभयो”, मदरसा व्यवस्थापन समिति लुम्बिनी प्रदेश उपाध्यक्ष मौलाना मशूद नेपालीले बताए ।
कसरी मनाइन्छ, मुहर्रम ?
मुहर्रमको दशौँ दिन अर्थात् आशूराका दिन ताजियादारी गरिन्छ । इमाम हुसैनको इराकमा दरगाह छ, जसको हुबहु नक्कल गरी ताजिया बनाइन्छ । शिया उलेमाका अनुसार मोहर्रमको चाँद निस्किने पहिलो तारिखमा ताजिया राखिन्छ । यो दिन इमाम हुसैनको सहादतको सम्झनामा ताजियासहित जुलुस निकालिन्छ । जबकि ताजिया निकाल्ने परम्परामात्र शिया समुदायमा छ, उत्तरी भारत र नेपालको अधिकांश ठाउँमा हिन्दूहरूले पनि ताजियासहित जुलुस निकाल्ने गरेका छन् ।
यो वर्ष नेपाल र भारतमा मुहर्रमको सुरुआत २० जुलाईबाट भएको छ । त्यसैले भारतमा आशूरा २९ अगस्तमा मनाइँदैछ । पाकिस्तान र बङ्गलादेशमा पनि आशूरा २९ अगस्त २०२३ मै मनाइँदैछ । जबकि सउदीअरब, ओमान, कतार, इराक, बहरिन, संयुक्त अरब अमिरातसमेत अन्य अरब देशमा मुहर्रम १९ जुलाईबाट प्रारम्भ भएकाले मातमको दिन २८ जुलाईमै मनाइएको छ ।
“हुसैनको त्याग र बलिदानले अन्तर्राष्ट्रियस्तरमा पनि विश्वसनीयता प्राप्त गरेको छ । यसले अधिकारको मुद्दालाई समाजवादी परिवर्तनमा सहायक बन्ने प्रेरणा पनि प्रदान गरेको छ”, मदरसा व्यवस्थापन समिति लुम्बिनी प्रदेशका उपाध्यक्ष मौलाना मशूद नेपालीले भने, “यस शोकपूर्ण अध्यायमा हजरत इमाम हुसैनलाई एक दृढ व्यक्तिगतता र न्यायमयी स्वभावका कारणले एक धार्मिक नायक र मानवीय समर्थकको रूपमा चिनिन्छ ।”रासस |
सामाखुसी खोलामा बगेर बेपत्ता बालक अझै फेला परेनन् काठमाडौँ । यही साउन ७ गते काठमाडौँको सामाखुसी खोलामा आएको बाढीले बगाउँदा बेपत्ता भएका १३ वर्षीय बालक साजन मगर एक हप्ता बित्न लाग्दासमेत अझै फेला परेका छैनन् ।
खोलाले बगाउँदा बेपत्ता भएका बालकको खोजीकार्यका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीको विपद् व्यवस्थापन टोली तथा गोताखोर टोली तालिमप्राप्त कुकुरको सहयोगमा खोजीकार्यमा खटिएको भए पनि अहिलेसम्म फेला पार्न नसकेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले बताए ।
उनले भने, “विपद् व्यवस्थापनको टोलीले तालिमप्राप्त कुकुरको सहयोगमा सामुखुसी खोला पूरै खोजीकार्य गरेको र गोताखोरले हिलोमा समेत छिरेर खोजीकार्य गर्दा समेत फेला पार्न सकेको छैन, यहाँबाट बगेर जान सक्ने क्षेत्रमा रहेका प्रहरी युनिटमा समेत हामीले खबर गरेका छौँ, अहिलेसम्म फेला परेको खबर छैन ।”
बेपत्ता बालकको अहिले पनि खोजीकार्य जारी रहेको छ । काठमाडौँको पानीपोखरीको भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा अध्ययनरत निज बालक यही साउन ७ गते साँझ फुटसल खेल्न जाँदै गर्दा पर्खालबाट खसेर सामाखुसी खोलामा बगेर बेपत्ता भएका थिए । |
निर्मला पन्त हत्या प्रकरण : ५ वर्षमा ६ वटा समिति बने, हात लाग्यो शून्य काठमाडौं। कञ्चनपुरकी भीमदत्त नगरपालिकाकी १३ बर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको साउन १० मा ५ वर्ष पूरा हुँदा पनि हत्यारा पत्ता लाग्न सकेको छैन।
पाँच वर्षको अवधिमा ६ वटा अनुसन्धान समिति र सयौको संख्यामा अनुसन्धानकर्ताहरु परिचालन हुँदा पनि हत्यरा पत्ता लाग्न सकेको छैन। कञ्चनपुरको भिमदत्त नगरपालिकास्थित उल्टाखामकी निर्मला पन्तको १० साउन २०७५ मा हत्या भएको थियो।
नेपाल प्रहरीको जनशक्ति यो अनुसन्धानका लागि सबैभन्दाबढी प्रयोग भएको थियो। तर पनि अहिलेसम्म हत्यरालाई पक्राउ गर्न र कानुनी दायरामा ल्याउन सकेको छैन। अहिलेसम्म संदिग्ध १२३ जनाको डीएनए जाँच गरिएको भएपनि अहिलेसम्म त्यो प्रकृया मात्रै पूरा गर्ने काम भएको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी कुवेर कडायतका अनुसार अहिलेपनि अनुसन्धान जारी रहेको छ। प्रहरीले पाँच वर्ष अघि त्यस ठाउँमा रहेका व्यक्तिहरुलाई निगरानीमा राखेर अनुसन्धान गरेपनि कसैलाई पनि निशाना लगाउन सकेको छैन।
सिआइबीबाट खटिएका तत्कालीन डिएसपी अंगुर जिसीले प्रमाणित गरेका व्यक्तिले मैले हत्या गरेको हौ भन्ने साविति बयान दिँदा पनि प्रहरीले उनलाई पक्राउ गरेको छैन। खासगरी स्थानीय बासिन्दाबीच मत बाझिँदा र अनुसन्धान विटुलिदा उनलाई पक्राउ गर्न नसकेको हो।
निर्मला पन्तको हत्याबारे अनुसन्धान गर्न अहिलेसम्म ६ वटा समिति बनेका थिए। ती समितिले पनि कुनै सुराकी नपाएको भन्दै डिएनए परीक्षण र स्थानीयहरुको बयानलाई मात्र आधार बनाएर समितिको प्रतिवेदन तयार पारेको देखिन्छ। पछिल्लो पटक डीआईजी दुर्गा सिंहको नेतृत्वमा छैटौ समिति बनेको थियो।
विगत पाँच वर्षदेखि जसले पन्तको हत्याबारे अनुसन्धान गरेको छ, उसले कञ्चनपुर जिल्ला प्रहरी कार्यालयको प्रमुख हुने र सुदूरपश्चिम प्रहरी कार्यालयको प्रमुख भएर जाने गरेका छन्। उनीहरुलाई निर्मला पन्तको हत्यारा पत्ता लगाउने प्रमुख टास्क दिएर त्यहाँ सरुवा गरिन्छ तर उनीहरुबाट पनि नजिता आउन सकेको छैन।
२०७५ भदौ ६ मा सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा समिति बनेको थियो। प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) धिरु बस्न्यातको नेतृत्वमा ०७५ भदौ १४ मा छानबिन समिति बन्यो।
त्यसले नेपाल प्रहरीका धेरै अधिकृतहरुलाई कारवाहीको सिफारिस गरेर उनीको वृत्ति विकासमै धक्का लगाउने बाहेक अपराधी पत्ता लगाउने काम गरेन।
२०७५ कार्तिक २७ मा राष्ट्रिय मानव अधिकार आयोगले समिति गठन गरेको थियो। ०७६ भदौ २६ मा डीएनए विज्ञ जीवनप्रसाद रिजालको नेतृत्वमा गठन भएको समितिले पनि घटनाबारे छानबिन गरेर सुझाव दिएको थियो।
२०७६ माघ ११ मा तत्कालीन डीआईजी सुरज केसीको नेतृत्वमा बनेको पुनरावलोकन समितिले पनि प्रतिवेदन दिएको थियो। प्रहरी प्रधानकार्यालयका अनुसार निर्मलाको हत्याबारे हालसम्म ८ वटा प्रहरी कार्यालयबाट ७८ जना अनुसन्धान अधिकृतले नेतृत्व गरेर अनुसन्धान गरेका छन्।
केन्द्रीय अनुसन्धान ब्युरोबाट मात्रै ४४ जनाले घटनाबारे अनुसन्धान गरिसकेका छन्। त्यसमा पनि करिब दुई सय भन्दा बढी अतिरिक्त जनशक्ति खटिएको थियो।
विगत पाँच वर्षदेखि जसले पन्तको हत्याबारे अनुसन्धान गरेको छ, उसले कञ्चनपुर जिल्ला प्रहरी कार्यालयको प्रमुख हुने र सुदूरपश्चिम प्रहरी कार्यालयको प्रमुख भएर जाने गरेका छन्।
उनीहरुलाई निर्मला पन्तको हत्यारा पत्ता लगाउने प्रमुख टास्क दिएर त्यहाँ सरुवा गरिन्छ तर उनीहरुबाट पनि नजिता आउन सकेको छैन।
पछिल्लो ६ महिनामा कञ्चनपुर प्रहरीले ३ जनाको रगतको नमुना संकलन गरेर विधि विज्ञान प्रयोगशालामा पठाएको थियो । तर, ती सवै नमुनाको जाँच रिपोर्ट ‘नेगेटिभ’ आएको छ।
दुर्व्यसनकाे लत बसेका, घटनास्थलको खोला तरेर पारी जानसक्ने र यौन मनोविज्ञान विक्षिप्त रहेकाहरुबाट प्रहरीले नमुना संकलन गरिरहेको छ। २०७५ साउनमा घटनास्थल आसपासमा भएकाहरुको नमुना संकलन गरिएको छ।
तर पनि उनीहरुबाट सकारात्मक परिणाम दिन सकेका छैनन्। विगतमा सिआइबीबाटै अनुसन्धानका लागि खटेका तत्कालीन एसपी कुवेर कडायत यतिबेला प्रहरी प्रधानकार्यालयको प्रवक्ता रहेका छन् भने सिआबीबाट लामो समय अनुसन्धानमा सहभागी रहेका कञ्चनपुरका एसपी कमल थापा यतिबेला कञ्चनपुर जिल्ला प्रहरी कार्यालयको प्रमुख छन्। तर पनि उनीहरुले परिणाम दिन सकेका छैनन्।
त्यस्तै डिआइजी दुर्गासिंह चन्द पनि सुदूरपश्चिम प्रहरी प्रमुख छिन्। ‘हामीले प्रयास गरिरहेका छौं, समय लाग्न सक्छ तर परिणाम दिने प्रयासमा छौं’, डिआइजी सिंहले भनिन्।
एसपी थापा कञ्चनपुरको प्रमुख भएर गएपछि सीआईबीले त्यहाँबाट सिनियर अफिसरलाई चाहिँ फिर्ता बोलाएर उनलाई सो घट्नाको अनुसन्धान गर्ने टास्क दिएको छ। निर्मला हत्याको अनुसन्धान पूरा गर्न प्रहरी प्रधान कार्यालयले २०७९ माघमा प्रहरी उपरीक्षक कमल थापालाई कञ्चनपुरमा सरुवा गरेको थियो।
अहिले उनी त्यहीँ कार्यरत रहेका छन्। उपप्रधान एवं गृहमन्त्री नियुक्त भएपछि रवि लामिछानेले निर्मला पन्तको हत्याबारे न्यायिक छानबिन गर्ने निर्णय गरेका थिए।
हत्या अनुसन्धानलाई प्रभावकारी बनाउन २०७९ पुस १५ मा डीआईजी दुर्गा सिंहको नेतृत्वमा नयाँ समिति बनेको थियो। तर परिणाम नआएपछि उनलाई सुदूरपश्चिम प्रहरी कार्यालयकै जिम्मेवारी दिएर पठाइएको छ।
निर्मलाको हत्यापछि केन्द्रीय अनुसन्धान ब्यूरोका डीएसपी अंगुर जिसी नेतृत्वको टिमले दिलिप सिंह विष्टलाई पक्रेको थियो।
निर्मलाको ‘भजाइनल स्वाब’ सँग विष्टको डीएनए म्याच नभएपछि २०७५ भदौ २६ मा सरकारी वकिल कार्यालयले विष्टलाई साधारण तारेखमा छाड्ने निर्णय गरेपछि सो घट्नाक्रमको अनुसन्धान अहिलेसम्म अपूरो नै रहेको छ। |
स्थानीयले अवरोध गरेपछि चारदिनदेखि उठेन पोखराको फोहोर कास्की । पर्यटकीय सहर पोखरामा चार दिनदेखि फोहोर नउठ्दा दुर्गन्ध फैलिएको छ । पोखरा महानगरपालिकाले अस्थायी ल्याण्डफिल साइट बनाएको वडा नं ३२ मा स्थानीयले फोहोर लैजान अवरोध गरेपछि यही साउन १० गतेदेखि बजारको फोहर उठ्न नसकेको हो ।
पोखराका मुख्य बजार क्षेत्र चिप्लेढुङ्गा, महेन्द्रपुल, न्यूरोड, नयाँबजार, सिर्जनाचोक लगायतका क्षेत्रको सडकमै फोहोर थुप्रिएको छ । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै विमानस्थल नजिकको वर्षौदेखिको ल्याण्डफिल साइटमा फोहर लैजान रोकिएको थियो । त्यसपछि महानगरले अस्थायी रुपमा वडा नं ३२ लामेआहालस्थित सेती नदी किनारमा बजारको फोहोर व्यवस्थापन गर्दै आएको थियो ।
स्थानीयले लामेआहालमा महानगरले फोहर व्यवस्थापनका लागि पूर्वाधार नबनाएको, सडकमा जथाभावी फोहोर फालेको र प्रभावित क्षेत्रका बासिन्दासँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै लैजान अवरोध गरेका हुन् । महानगरले छ महिनाभित्रमा फोहोर व्यवस्थापनका लागि स्थायी व्यवस्था गर्ने प्रतिबद्धता जनाए पनि हालसम्म कुनै काम अघि नबढाएको स्थानीयले आरोप लगाएका छन् । स्थानीयको अवरोधपछि पर्यटकीय सहरको फोहर सडकबाट नउठ्दा बजार दुर्गन्धित भएको हो ।
पुस दोस्रो सातादेखि लामेआहालस्थित सेती नदी किनारमा रहेको अस्थायी ल्यान्डफिल साइटमा महानगरले फोहोरमैला व्यवस्थापन गर्दै आएको छ । वडा नं ३२ का वडाध्यक्ष अक्कलबहादुर कार्कीले स्थानीयका माग पूरा गरी सहज रुपमा फोहर लैजान छलफल भइरहेको बताए । ल्याण्डफिल साइटको सही ढङ्गले व्यवस्थापन नहुँदा वरपर दुर्गन्ध फैलिएको र फोहोर बोक्ने गाडीका कारण बाटो हिलो तथा जीर्ण भएकाले मर्मत गर्नुपर्ने माग स्थानीयको रहेको वडाध्यक्ष कार्कीले बताए ।
उनले भने, “राम्रोसँग फोहोर व्यवस्थापन हुनुपर्छ भन्ने र सडक राम्रो बनाइदिनुपर्दछ भन्ने मुख्य माग स्थानीय जनताको छ, हामीले त्यसका लागि प्रतिबद्धता जनाएका छौँ, महानगर प्रमुखले स्थानीयलाई छलफलमा बोलाउनुभएको छ, आइतबारसम्म सहमति हुन्छ होला ।”
महानगर प्रमुख धनराज आचार्यले ल्याण्डफिल साइट क्षेत्रका स्थानीयसँग सम्वाद भइरहेको बताए । उनले बजार क्षेत्रमा सडकमा ल्याएर फोहोर नफाल्न पोखरावासीमा आग्रह गरेका छन् । उनले भने, “ल्याण्डफिल्ड साइटमा फोहर लैजान केही अवरोध भएकाले चार दिनदेखि फोहोर उठाउन सकिएको छैन, हामी सम्वादमा छौँ, डेङ्गु बढिरहेको अवस्थामा फोहोर उठाउन नपाउँदा दुखित भए पनि आशा गरौँ छिटोभन्दा छिटो समस्या सामाधान हुनेछ, फोहोर उठाउने गाडी नआउँदासम्म प्रतिक्षा गरौँ र सडकमा फोहोर नफाल्न आग्रह गर्दछु ।”
पोखरा महानगरले यसअघि गत पुसमा छ महिनाका लागि भनेर लामेआहालमा अस्थायी फोहोर व्यवस्थापन सुरु गरेको हो । महानगरले वडा नं ३३ को पूँडीटारमा आठ सय ५० रोपनी क्षेत्रफल जमिनमा फोहोर व्यवस्थापनका लागि स्थायी संरचना बनाउने तयारी गरेको छ ।रासस |
सडक बाटो बनाउन खनिएको खाल्डोमा जमेको पानीमा डुबेर १३ वर्षीया किशोरीको मृत्यु सर्लाही। सर्लाहीको गोडैतामा सडक बाटो बनाउन खनिएको खाल्डोमा जमेको पानीमा डुबेर शनिबार एक किशोरीको मृत्यु भएको छ। गोडैता नगरपालिका–१० बस्ने रामप्रवेश महतोको १३ वर्षीया छोरी नेहाको खाल्डोमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।
घरबाट सय मिटर दूरीमा रहेको खाल्डोमा जमेको पानीमा घोघीं टिप्न जाँदा खुट्टा चिप्लिएर उनी पानीमा डुबेकी र उपचारका लागि प्रादेशिक अस्पतालमा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। |
साना व्यापारीहरुमाथि नगरप्रहरीले ज्यादती गरेको भन्दै काठमाडौं महानगर अगाडी प्रदर्शन काठमाडौं । सडक तथा साइकलमा व्यवसाय गर्ने साना व्यापारीहरुमाथि नगरप्रहरीले ज्यादती गरेको भन्दै काठमाडौं महानगरको कार्यालय अगाडी प्रदर्शन गरेको छ ।
आफुहरुलाई गरिखान नदिएको र नगर प्रहरीहरुले चरम ज्यादती गरेको भन्दै साना व्यापाहरीले भृकुटिमण्डपस्थीत महानगरको कार्यालय अगाडी प्रदर्शन गरेका हुन् ।
ठेलागाडा, साइकल तथा फुटपाथमा व्यवसाय गर्नेहरुलाई महानगरले उचित व्यवस्थापन गर्नुपर्ने उनीहरुले जनाएका छन् । ठेलागाडा, साइकल तथा फुटपाथ व्यवसाय प्रतिबन्ध लगाउनुको साटो सवैलाई गरिखान दिन अन्य स्थानमा बिकल्प दिनुपर्ने उनीहरुको भनाइ छ ।
प्रदर्शनमा सहभागीहरुले बालेन सुनिता तिमीहरूलाई मत र साथ दिनु के गल्ती नै थियो, गरिब होइन गरिबी हटाऊ लगाएत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । |
मध्यपहाडी लोकमार्गको कालोपत्र महिना दिनमै उप्कियो ढोरपाटन । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ खण्डमा पर्ने करिब एक सय ४२ किलोमिटरमध्ये अधिकांश सडक कालोपत्र भइसकेको छ । बागलुङ–घोडाबाँधे खण्डको १५ किलोमिटर सडक कालोपत्र गर्न बाँकी छ ।
वर्षौं अगाडि कालोपत्र भएको घोडाबाँधे–गलकोट खण्ड जीर्ण बनेपछि अहिले मर्मत भइरहेको छ । निर्माण कम्पनीले केही दिनमै काम सक्ने गरी तीव्रता दिए पनि मर्मत भएका केही ठाउँमा बीच भागमै कालोपत्रे उप्किएको छ ।
एक महिना नबित्दै कालोपत्र उप्किन थालेको भन्दै स्थानीयले निर्माण कम्पनी र सरोकारवाला निकायले लापरबाही गरेको आरोप लगाएका छन् । विसं २०७९ असार २२ मा लोकमार्ग कार्यालयसँग सम्झौता गरी जोशी निर्माण कम्पनी काठमाडौँले काम थालेको थियो ।
निर्माण कम्पनीले कालोपत्र गरेको लोकमार्गको नरठाँटी, काफलठूटा, झाँक्रीस्थानलगायत ठाउँमा उप्किएको यात्रु तिलबहादुर खत्रीले बताए। यस क्षेत्रमा कालोपत्र भएको महिना दिन पनि नपुगेको भन्दै उनले यसरी काम गर्दागर्दै कालोपत्र उप्किँदा आवागमनमा सास्ती भएको बताए ।
“के काम गरेको होला यस्तो, काम गर्दैछ, सडक उक्किँदैछ, यस्तो पनि हुन्छ, सरोकारवाला निकायले निगरानी गर्नुपर्ने हो”, खत्रीले भने, “यसको जिम्मेवारी कसले लिने ?, गुणस्तरहीन काम भएकोप्रति स्थानीय सरकारको छिटो ध्यान जाओस् र समाधान खोजियोस् ।”
निर्माण कम्पनीले रू १३ करोड ९९ लाखमा आगामी असोज २१ गतेसम्म सडक मर्मत सक्ने गरी ठेक्का लिएको थियो ।
मध्यपहाडी लोकमार्गका इञ्जिनियर राजन पाण्डेले मर्मतका लागि तोकिएको रकममध्ये रू एक करोड भुक्तानी लिन बाँकी रहेको बताए । उनले जेठमा कालोपत्र भएको स्थानमा पहिरो र भल आएर भत्किएकाले उक्त स्थानमा पुनः मर्मत गरिने जानकारी दिए । पाँच किलोमिटर कालोपत्र गरेकामा करिब ५० मिटर सडकमा उप्किने र भत्किने समस्या भएको उनको भनाइ छ ।
“अहिले जहाँजहाँ भत्किएको छ, सोही स्थानमा यसअघि पनि भत्किने गरेको रहेछ, भौगोलिक नाजुकताका कारण यो समस्या आएको हो”, इञ्जिनियर पाण्डेले भने, “जेठामा कालोपत्र गरेपछि ठूलो पानीसँगै भल आयो र भत्कियो । यसलाई निर्माण कम्पनीले पुनःमर्मत गर्नेछ ।” उनले भत्किएका स्थानमा कालोपत्र भन्दा ढलान गर्नुपर्ने बताए । |
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको थोरै क्षेत्रफलमा धेरै बाघ कञ्चनपुर। महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघका लागि थोरै क्षेत्रफल भए पनि यहाँ ३६ बाघ छन्। विश्वकै दुर्लभ मानिने बाह्रसिङ्गाको झुण्ड देख्न पाइने शुक्लाफाँटा पाटेबाघका लागि प्रख्यात हुन थालेको छ।
तीन सय पाँच वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस निकुञ्जमा बाघका लागि पर्याप्त आहारा, गुणस्तरीय बासस्थानलगायतको उचित व्यवस्थाले बाघको संख्या बढ्दै गएको निकुञ्ज कार्यालयले जनाएको छ।
निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरले तराईका अन्य राष्ट्रिय निकुञ्जमा भन्दा शुक्लाफाँटामा धेरै बाघ रहेको बताए।
“यहाँ बाघका लागि खाना र बासस्थानको राम्रो व्यवस्था गरिएको छ”, उनले भने, “आहाराका प्रजाति धेरै भएकाले पनि यहाँ बाघको सङ्ख्या बढेको हो।”
शुक्लाफाँटाभित्र रहेका ठूलो घाँसेमैदान, तालतलैया र प्रशस्त आहाराका लागि प्रजाति बढेसँगै बाघको सङ्ख्या पनि बढेको ऐरले बताए। उनका अनुसार निकुञ्जमा बाघको प्रमुख आहाराका रुपमा बाह्रसिङ्गा, रतुवा, चित्तल र बँदेल छन्।
“निकुञ्जभित्र प्राकृतिक ताल र तीन वटा ठूला नदीहरु छन्”, ऐरले भने, “यस बाहेक निकुञ्ज कार्यालयले १४ कृत्रिम तालसमेत बनाएको छ । वन्यजन्तुलाई प्यास मेटाउन पानीको अभाव छैन ।”
उनका अनुसार निकुञ्ज क्षेत्रमा चौधर, स्याली र महाकाली नदी छन् । चौधर नदी यहाँका वन्यजन्तुका लागि प्यास मेटाउने प्रमुख पानीको स्रोत रहेको निकुञ्जले जनाएको छ ।
पछिल्ला केही वर्षयता शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चोरीसिकार नियन्त्रण भई आहारा प्रजातिको उपलब्धता भएकाले बाघको सङ्ख्या चार वर्षमा दोब्बर पुगेको राष्ट्रिय प्रकृति संरक्षण कोषको शुक्लाफाँटा संरक्षण कार्यक्रम प्रमुख लक्ष्मीराज जोशीले जानकारी दिए।
“पछिल्लो समय चोरीसिकार नियन्त्रण र आहारा प्रजाति निकै राम्रो भएकाले अहिले बाघ दोब्बरले वृद्धि भएको हो”, उनले भने।
जोशीका अनुसार निकुञ्ज प्रशासन, नेपाली सेना र मध्यवर्ती क्षेत्रका उपभोक्ता समिति निकुञ्ज संरक्षणमा लागेका छन् । निकुञ्जमा सन् २०१३ को गणनाअनुसार १७ बाघ रहेकामा सन् २०२२ को गणनामा यो सङ्ख्या बढेर ३६ पुगेको हो।
निकुञ्जको वरिपरि मानव बस्ती भए पनि बाघ र मानवबीच द्वन्द्व नरहेको निकुञ्ज कार्यालयले जनाएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा सन् २००८ देखि स्वचालित क्यामरा प्रविधिबाट बाघ गणना तथा अनुगमन भइरहेको छ। |
रुपन्देहीको छपियामा अस्थायी प्रहरी पोस्ट बुटवल। रुपन्देहीको सियारी–४ छपियामा अस्थायी प्रहरी पोस्ट स्थापना गरिएको छ।
बढ्दो बजारीकरण र आर्थिक चलायमान हुदै गए पछि शान्ति सुरक्षा र अपराध न्यूनिकरणमा सहयोग पुग्ने उद्देश्यका साथ अस्थायी चौकी स्थापना गरि २४ घण्टा नै प्रहरी सेवा दिन लागिएको हो।
भौगोलिक रुपमा पनि इलाका प्रहरी कार्यालय करिब ५ किलोमिटर टाढा रहेकोले र बढ्दो चोरी, लुटपाट तथा लागु औषध दुव्र्यसनको घटनाबाट स्थानीय त्रसित भएकोले न्यूनिकरण गर्दै व्यवस्थित बजार र सुशासन कायम गराउदै स्थानीयको सुरक्षाका लागि अस्थायी प्रहरी पोस्ट स्थापना गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी भरत विश्वकर्माले भने।
लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक उमेश जोशीले अस्थायी प्रहरी पोस्टको उद्घाटन गरेका हुन । सो अवसरमा बोल्दै उनले जनसंख्या बढ्दै गई चहल र आर्थिक क्रियकलाप बढ्दै गएकोले स्थानीय, सियारी गाँउपालिका र सुरक्षा समितिको आवश्यकता अनुसार सुरक्षाका दृष्टिले संवेदनशील भएकाले अस्थायी प्रहरी पोस्टको स्थापना सुरुवात मात्रै रहेको हो, यसलाई चौकी र इप्रका हुदै अगाडि बढाउदै जानु पर्ने बताए।
अहिले यहाँ आमुल परिवर्तन भएकोले यहाँ सम्म आएका छौ, स्थानीयले प्रहरीलाई सूचना दिएर समाजमा हुन सक्ने अपराधिक क्रियाकलापदेखि समाजका विकृति, विसंगती सबै न्यूनिकरण र नियन्त्रण गर्न सकिने बताए। मन भित्र सबैको पाप हुने हुदाँ शिक्षा र विवेकको प्रयोग भए अपराध आफै रोकिने बताए।
साथै, प्रदेश प्रहरी कार्यालयले प्रदेशका ३ वटा जिल्ला दाङ, रुपन्देही र बाकेमा डिजिटल प्रणलीबाट जरिवाना असुल गर्ने प्रणालीको विकास गरेको छ भने पूर्व पश्चिम राजमार्गको विभिन्न ठाँउमा भएको चेक प्वाइन्ट र अनावश्यक चेकजाँचलाई हटाई सिमित र आवश्यकता अनुसारको चेकजाँचले सडकमा प्रहरी कम भए पनि राजश्व बढेको बताए।
बढ्दो अपराधिक क्रियाकलाप र स्थानीयको मागलाई मध्यनजर गर्दै अस्थायी प्रहरी पोष्ट स्थापना गरेकोमा धन्यवाद दिदै स्थानीयले अस्थायी प्रहरी पोष्ट स्थापना भएपछि धेरै खुसी भएको प्रतिक्रिया दिए । प्रहरी पोस्ट नभएका कारण विभिन्न घटना घट्ने तथा शान्ति सुरक्षाका लागि निकै समस्या हुने गरेको थियो।
पोस्टको स्थापना पछि हामीसँग पनि प्रहरीको साथ छ, हाम्रो सुरक्षाका निम्ति प्रहरी २४ घण्टा खटिने भएकोले यस क्षेत्रमा चोरीका घटना मात्र होइन महिला हिंसा लगायतका अपराधिक क्रियाकलापले प्रसय नपाउने उनीहरुले सुनाए । यसले शान्ति सुरक्षा अपराध रोकथाम नियन्त्रण तथा अनुसन्धानमा समेत थप मद्दत पुग्ने र हामीहरु प्रहरी सेवा लिन इलाका प्रहरी कार्यालय समेत जान नपर्ने बताए ।
हालै स्थापना गरिएको पोस्टबाट प्रहरीले दत्तचित्त भएर निष्पक्षरूपमा नागरिकको शान्ति सुरक्षाको क्षेत्रमा काम गर्ने अपेक्षा लिएको सियारी गाँउपालिका अध्यक्ष थानेश्वर घिमिरेले भने । अब छपिया चोकमा शान्ति सुरक्षा अमनचैनमा प्रहरी पोस्टले महत्वपूर्ण भूमिका खेल्नेमा आफू विश्वस्त रहेको र नागरिकबाट पनि प्रहरीलाई सदैव पूर्ण सहयोग हुने बताए ।
सो अवसरमा बोल्दै सहायक जिल्ला धिकारी ध्रुब बहादुर कुवँर, लुम्बिनी प्रेस क्बलकी अध्यक्ष समझना शर्मा, वडाध्यक्ष श्रीराम यादव लगायतले स्थानीय बासीको माग, शान्ति सुरक्षा, जीउधनको रक्षाका लागि गाँउपालिकाको सक्रियतामा प्रहरी चेक पोस्ट स्थापना भएकोले छपिया चोक अब व्यवस्थित हुदै सुशासन कायम हुने बताए । स्थापना भएको अस्थायी प्रहरी पोस्टमा जुनियर प्रहरी अधिकृतको नेतृत्वमा २४ घण्टा नै प्रहरी सेवा दिइने छ । |
लुम्बिनीमा ४० लाख खर्चेर पर्यटक लक्षित स्मार्ट शौचालय भैरहवा। नेपाल वित्तिय संस्था कर्मचारी संघले बुद्धजन्मस्थल लुम्बिनीमा आउने पर्यटकलाई लक्षित गरि ‘स्मार्ट शौचालय’ निर्माण गरेको छ ।
लुम्बिनी विकास कोषसँग सहकार्य गरि ४ नम्बर गेटमा पर्यटकलाई लक्षित गरि लैंगिकमैत्री शौचालय निर्माण गरेको हो।
कोरिया फाइनान्सियल इन्डस्ट्री फाउण्डेशन (केएफआइएफ) र युएनआई ग्लोबल यूनियन एसियाको पहलमा आधुनिक प्रविधि जडान गरि करिव ४० लाख लागतमा शौचालय तयार पारिएको वित्तिय संस्था कर्मचारी संघले जनाएको छ । संघले शुक्रबार लुम्बिनीमा एक कार्यक्रमको आयोजना गरि निर्माण गरिएको शौचालय लुम्बिनी विकास कोषलाई हस्तान्तरण गरेको छ ।
हस्तान्तरण कार्यक्रममा कोरिया फाइनान्सियल इन्डस्ट्री फाउण्डेशनका अध्यक्ष प्रोफेसर पार्क जोन सिकले बुद्धजन्मस्थल लुम्बिनी आउने पर्यटकलाई सेवा दिने उदेश्यले सामाजिक उत्तरदायित्व अन्तरगत शौचालय निर्माण गर्न पाउदा खुशी लागेको बताए । लुम्बिनी आउने पर्यटकहरुलाई शौचालयले थप सहजता दिने उनले बताए ।
कार्यक्रममा लुम्बिनी विकास कोषका कार्यवाहक उपाध्यक्ष एंव कोषाध्यक्ष सिद्धिचरण भट्टराईले बैंक तथा वित्तिय संस्थाका मजदुरहरुको लगानीमा निर्माण भएको शौचालयले पर्यटकहरुलाई सहजता थप्ने बताउँदै यसको दीगो सञ्चालन हुने व्यवस्था कोषले गर्ने प्रतिबद्धता जनाए ।
कोभिडपछि सुस्ताएको पर्यटक आवागमनलाई गतिशिल बनाउने गरि नीतिगत रुपमा काम गरेको बताउँदै लुम्बिनीको सरसफाईलाई अन्तराष्ट्रिय स्तरको बनाउने अभियानमा लागेको समेत उनले बताए । १ सय ५० वर्ग मिटर क्षेत्रफलमा निर्माण गरिएको शौचालय स्वचालिक र आधुनिक छ ।
लैंगिक र अपाङमैत्रीसँगै महिलाहरुलाई स्यानिटरीप्याड समेत उपलब्ध हुने व्यवस्था गरिएको नेपाल वित्तिय संस्था कर्मचारी संघका महासचिव विकास श्रेष्ठले बताए । उनका अनुसार यस शौचालयमा दैनिक ५ सय पर्यटकहरुले लाभ लिनेछन् । |
बाजुरामा बाढी पहिरोबाट १३ परिवार विस्थापित, दर्जनौँ घर जोखिममा बाजुरा। बाढी र पहिरोका छुट्टाछुट्टै घटनामा यहाँका १३ परिवार बिस्थापित भएका छन्। शुक्रबार आएको बाढी र पहिरोका कारण यहाँका हिमाली र गौमूल गाउँपालिकामा १३ परिवार बिस्थापित हुनुका साथै दर्जनौ घर जोखिममा परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
हिमाली गाउँपालिका-३ युनामा शुक्रबार घरमाथिबाट आएको पहिरोमा परी दीपलाल बुढाको घर पूर्णरुपमा क्षतिग्रस्त भएको छ। जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक रवीन्द्रसिं कठायतका अनुसार शुक्रबार बिहान साढे ८ बजे आएको पहिरोले बुढाको घरसहित घरभित्र भएका अन्नपात, लुगा कपडा बगाएको हो।
पहिरोले घर बगाएपछि तीन जनाको परिवारको बिचल्ली भएको छ । उनीहरुको सुरक्षित बासका लागि वडा अध्यक्षसँग पहल भइरहेको प्रहरी निरीक्षक कठायतले जानकारी दिए। पहिरोका कारण सोही वडाका १० घर जोखिममा परेको प्रहरीको भनाइ छ । युनामा रहेको आधारभूत स्वास्थ्यचौकी पनि पहिरोको जोखिममा परेको छ।
साथै गौमूल गाउँपालिका–३ मा आएको पहिरोमा परी १२ परिवार विस्थापित बनेका छन् । लगातारको वर्षापछि आएको पहिरोका कारण बेहरीका पाँच र ढल्काँडाका सात गरी १२ परिवार विस्थापित बनेको गौमुल गाउँपालिका उपाध्यक्ष सीता थापाले जानकारी दिइन्।
उनका अनुसार बेहरीका चीन रोकाया, सुरेश रोकाया, कृष्ण विक, पुष्प विक र जोगी विकको परिवार विस्थापित भएको छ । साथै ढल्काँडाका राजेन्द्र धामी, भानबहादुर बोहरा, वसन्त बोहरा झाँक्री बोहरा, गङ्ग बोहरा अफिलाल बोहरा, ब्रिजित बोहराको परिवार विस्थापित बनेको छ।
पहिरोले सिङ्गो बस्ती नै विस्थापित गर्ने गरी खसेको छ । दिउँसोको समयमा पहिरो खसेकाले मानवीय क्षति नभए पनि भौतिक नोक्सानी बेहोर्नुपरेको स्थानीयले बताएका छन् । पहिरोका कारण १२ परिवारका ६० जनाभन्दा बढीलाई स्थानीय थुमथला आधारभूत विद्यालयमा राखिएको पालिका उपाध्यक्ष थापाको भनाइ छ।
घरभित्र राखिएको केही अन्नपात, लत्ता कपडा र अन्य सम्पत्ति भने जोगाउन सफल भएको विस्थापित परिवारको भनाइ छ । वर्षा जारी रहेकाले पहिरो अहिले पनि नियमित बगिरहेको छ।
गौमूलका अन्य बस्ती पनि पहिरोको उच्च जोखिममा छन्। विसं २०७७ मा पनि पालिकाको १ र २ का अधिकांश बस्ती पहिरोबाट प्रभावित बनेका थिए । सयौँ बिघा जमिनमा क्षति पुगेको थियो भने दर्जनौ पशु चौपाया मरेका थिए । त्यो बेला पनि पालिकाका तर्फबाट उद्धार सम्भव नभएपछि तत्कालीन सरकारका गृहमन्त्रीकै नेतृत्वमा टोली अवस्था अध्ययनका लागि बाजुरा आइपुगेको थियो।
साविक २७ गाविसमध्ये १६ बढी गाविसको मानव बस्ती सार्नुपर्ने भूगर्भविद्ले सुझाव दिएका थिए । त्यही सिफारिसका आधारमा २०७२ सालमा एकीकृत बस्ती विकासको परीक्षणका लागि रु ७४ करोड रकम पनि विनियोजन गरिएको थियो । हाल त्यसको कुनै कार्यान्वयन र निरन्तरता हुन सकेको छैन।
बाजुराका दुई हजारभन्दा बढी परिवार अहिले पहिरोको उच्च जोेखिममा छन्। उनीहरुले अहिले पनि पाँल टाँगेर बस्नुपर्ने, रातभर जागराम हुनुपर्ने बाध्य छन्। भिरालो र पाखो जमिन, चारैपतरबाट पहिरोको डर र बेला बेलाको भूकम्पले चिराचिरा परेका जमिन र घर झनै जोखिम रहेको स्थानीय बताउँछन् । जिल्ला प्रशासन कार्यालयले भने पनि पालिकास्तरीय तयारी पनि हुनुपर्ने र जिल्ला तहमा प्रशासनको पूर्वतयारी पनि गरिएको बताएको छ । |
अवरुद्ध मुग्लिन-नारायणगढ सडकखण्ड सञ्चालनमा भरतपुर। पहिरो खसेर अवरुद्ध मुग्लिन-नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ।
चितवनको इच्छाकामना गाउँपालिका-५ कालीखोला नजिक आज बिहान १ बजे पहिरो खसेर सडकखण्ड अवरुद्ध भएको थियो।
सडक डिभिजन कार्यालय चितवनको एक्साभेटर प्रयोग गरेर पहिरो हटाएपछि बिहान ३ बजेदेखि यातायात सेवा सञ्चालनमा आएको सडक डिभिजन कार्यालय चितवनले जनाएको छ।
पहिरो पन्छाएपछि रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् । पहिरोका कारण नारायणगढ मुग्लिन सडकखण्ड पटक-पटक अवरुद्ध हुँदै आएको छ। |
प्रलोभनमा परेर थाइल्याण्ड र म्यानमार नजान परराष्ट्र मन्त्रालयको आग्रह काठमाडौं । परराष्ट्र मन्त्रालयले झुटा आश्वासन र प्रलोभनमा परेर वैदेशिक रोजगारीका लागि थाइल्याण्ड र म्यानमार नजान आग्रह गरेको छ ।
मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी पछिल्लो समय थाइल्याण्ड र म्यानमारमा सूचना प्रविधि (आईटी) क्षेत्रमा आकर्षक रोजगारी र सुविधाको प्रलोभन देखाएर नेपालीलाई म्यानमारको कायिन प्रान्तको म्यावडी लगेर बन्धक बनाई अवैध काम गर्न बाध्य बनाइएको भन्दै सचेत रहन आग्रह गरेको हो ।
मन्त्रालयले वैदेशिक रोजगारीमा लगाइदिने वा यस्तै अन्य प्रलोभनमा पारी ठूलो रकम लिई कुनै व्यक्तिलाई विदेशमा लगेर अलपत्र पार्ने एवं नेपाल सरकारको प्रचलित कानूनअनुरूप निषेध गरिएका कार्यमा संलग्न गराउने कार्य कानूनबमोजिम दण्डनीय भएकाले यस्ता गैरकानूनी काम नगर्न र यसतर्फ सचेत रहन सबैमा अनुरोधसमेत गरेको छ ।
यस्तै, विभिन्न प्रलोभनमा परी जाने नेपालीलाई गैरकानूनी रूपमा थाइल्याण्डबाट स्थलमार्ग हुँदै म्यानमारको सो क्षेत्रमा लैजान र रोजगारदाताले नेपाली राहदानीसमेत जफत गरी दैनिक १२ घण्टासम्म अनलाइन ठगीलगायत गैरकानूनी काममा लगाउने गरेको बुझिन आएको मन्त्रालयले बताएको छ ।
विदेशमा रोजगारी गर्न जाँदा पर्यटक÷भिजिट भिसामा नगई प्रचलित नेपाल कानूनबमोजिम श्रम स्वीकृति लिएरमात्र विदेश जान सरकारले अनुरोध गरेको छ । यसरी रोजगारीका लागि विदेश जानुअघि नेपाल सरकारका सम्बन्धित कार्यालय तथा विदेशस्थित नेपाली नियोगसँग सम्पर्क गरी रोजगारदाता कम्पनी र रोजगारीको बारेमा बुझ्न सबैमा मन्त्रालयले अनुरोध गरेको छ ।
मन्त्रालयले नक्कली रोजगारीका विज्ञापन प्रायः सामाजिक सञ्जालमा आउने गरेका देखिएकाले यस्ता झुटा आश्वासनमा नपर्न समेत सचेत गराएको छ । म्यानमारमा पुगेर बन्धक बनाइएका तथा अलपत्र परेका नेपालीले आफ्नो उद्धारका लागि नेपालस्थित आफन्तजन र नेपाली राजदूतावास बैँकक तथा याङ्गुनमा सम्पर्क गर्ने गरेको पाइएको छ ।
नेपाली दूतावासले स्थानीय सरकारसँग समन्वय गरी केही सङ्ख्यामा नेपालीको उद्धार गरिसकेको र थप नेपालीको उद्धार गर्ने प्रयास भइरहेको बताएको छ । म्यानमार द्वन्द्वग्रस्त क्षेत्र भएकाले उद्धारमा चुनौती हुने गरेको मन्त्रालयले जनाएको छ । उद्धारका लागि कुनै समस्या परेमा नेपाली राजदूतावास बैँकक तथा याङ्गुनको इमेल [email protected] र [email protected] र टेलिफोन नं+66-869915554, +95-1-545880 र +95-1-557168 मा तथा फेसबुक पेज Embassy of Nepal in Bangkok, Embassy of Nepal in Yangon Myanmar मा सम्पर्क गर्न मन्त्रालयले सबैलाई अनुरोध समेत गरेको छ । |
युरोपियन मुलुकमा रोजगारी दिने बहानामा लाखौँ रुपैयाँ ठगी, प्रभावमा नपर्न मन्त्रालयको सुझाव काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले युरोपियन श्रम गन्तव्य मुलुकमा जान असम्बन्धित व्यक्ति वा संस्थाको अनुचित प्रभावमा नपर्न सुझाव दिएको छ ।
मन्त्रालयले आज प्रेस विज्ञप्तीमार्फत आकर्षक सेवा, सुविधाको प्रलोभन देखाई माल्टा, रोमानिया, पोल्याण्ड, पोर्चुगललगायतका युरोपियन श्रम गन्तव्य मुलुकमा रोजगारी दिने बहानामा लाखौँ रुपैयाँ ठगी गरेको सम्बन्धमा सुक्ष्म अनुसन्धान गरिरहेको जानकारी दिँदै असम्बन्धित व्यक्ति वा संस्थाको अनुचित प्रभावमा नपर्न सुझाव दिएको हो ।
“असम्बन्धित व्यक्ति वा संस्थाको अनुचित प्रभावमा नपर्न मन्त्रालयको अनुरोध छ”, विज्ञप्तीमा उल्लेख छ, “दर्ता भएका इजाजत प्राप्त संस्थामार्फत वा उच्च दक्ष कामदारले व्यक्तिगतरुपमा वैदेशिक रोजगारीमा जाँदा अन्य कोही अनाधिकृत व्यक्ति वा संस्था एवं सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रकाशन तथा प्रसारण गरेको सूचनाको आधारमा नभई कामदार स्वयंले वैदेशिक रोजगार विभाग वा सम्बन्धित सङ्घ तथा रोजगारदातासँग सिधा सम्पर्क र समन्वय गरेर मात्र वैदेशिक रोजगारीमा जानुहुन अनुरोध छ ।”
जारी विज्ञप्तीमा सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा ‘वैदेशिक रोजगारीमा ठगी’ विषयमा प्रकाशित तथा प्रशारित समाचारप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ । मन्त्रालयका सहायक प्रवक्ता डम्बरबहादुर सुनुवारले अनधिकृतरुपमा वैदेशिक रोजगारीको आवरणमा हुने सबै प्रकारका ठगीलाई निरुत्साहित गर्न सहयोग तथा सहकार्यका लागि अनुरोध गरेका छन् ।
वैदेशिक रोजगारीमा जानका लागि नेपाल सरकारले खुला गरेको मुलुकमा तीन प्रकारको कानूनी प्रकृयाबाट श्रम स्वीकृति प्रदान गरिन्छ । नेपाल सरकार र सम्बन्धित देशको सरकारबीच श्रम सम्झौता गरी, वैदेशिक रोजगार विभागमा दर्ता भई अद्यावधिक भएका वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न अनुमती प्राप्त इजाजतप्राप्त संस्था र तेस्रो व्यक्तिगतरुपमा श्रम स्वीकृति प्रदान गरिने प्रावधान रहेको छ ।
इजाजत प्राप्त संस्थामार्फत वैदेशिक रोजगारीमा जाँदा आफू जान चाहेको मुलुक, कामको विवरण, तलब सेवा सुविधा, आवश्यक सीप तालिम, रोजगारदाताले तोकेको सेवा शुल्क वा फ्रि भिषा फ्रि टिकटको बारेमा सम्बन्धित इजाजतप्राप्त संस्थामा स्वयं आफैँ उपस्थित भई वा वैदेशिक रोजगार विभागमा सम्पर्क गरी यकिन गर्न मन्त्रालयले अनुरोध गरेको छ । |
सत्र दिनपछि मुगुमा विद्युत् पुनःसञ्चालन मुगु । विद्युत् अवरुद्ध भएको १७ दिनपछि मुगुमा बिजुली बत्ती सञ्चालनमा आएको छ । गमगाड वितरण केन्द्रले छायाँनाथ रारा नगरपालिकासँगको समन्वय एवं नगरपालिकाकै आर्थिक तथा प्राविधिक सहयोगमा शुक्रबार साँझदेखि विद्युत् सेवा सञ्चालन भएको हो ।
गत असार २७ गते मङ्गलबार गमगाड खोलामा आएको बाढीले पावर हाउसतिरको नहरमा बालुवासहितको माटाले नहर पुरेपछि नहरमा पानी बग्न नपाइ विद्युत् सेवा अवरुद्ध भएको थियो । विद्युत् सेवा अवरुद्ध भएपछि छायाँनाथ रारा नगरपालिकाभित्रका ८७ बस्तीका २६ हजार घर परिवार विद्युत् सेवाबाट प्रभावित हुँदै आएका थिए भने दैनिक रुपमा सरकारी तथा गैरसरकारी सङ्घ संस्थाले सेवा दिन सकेका थिएनन् ।
विद्युत् सेवा सञ्चालन गर्नका लागि जिल्लास्थित विद्युत् प्राधिकरणका कर्मचारी र सशस्त्र प्रहरी बल ४५ नम्बर गुल्ममा कार्यरत सुरक्षाकर्मीहरुले नहरमा जमेको करिब एक सय मिटर भागको बालुवा र माटो निकालेका थिए । |
दक्षिण सुडानमा कार्यरत शान्ति सैनिक बाँठाको मृत्यु काठमाडौं । दक्षिण सुडानमा कार्यरत नेपाली शान्ति सैनिकको मृत्यु भएको छ ।
संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनाकार्यका लागि दक्षिण सुडानमा तैनाथ शेर गण शान्ति सेना बाह्रौँ डफ्फामा कार्यरत अमलदार रामबहादुर बाँठाको हिजो बिहीबार मृत्युभएको हो ।
जाजरकोट जिल्ला खलङगा गाउँपालिका–६ का बाँठाको रुम्बेकस्थित गणमा रहेको गाडीको वर्कशपमा झुण्डीएको अवस्थामा फेला परेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । निजको पार्थिव शरीर पोर्टमार्टमको प्रक्रिया तथा अनुसन्धान पूरा भएपछि स्वदेश ल्याइने छ । |
पिपराका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध आरोप–पत्र दायर काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरी जिल्लाको पिपरा गाउँकार्यपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रञ्जिता झासहित पाँच जना उपर विशेष अदालतमा आरोप–पत्र दायर गरेको छ ।
आयोगले प्रमुख प्रशासकीय अधिकृत झा, तत्कालिन सब–इन्जिनियर श्याम किसोर मण्डल, निर्माण उपभोक्ता समितिका अध्यक्ष नवोनारायण मिश्र, सचिव कमरुल खातुन र कोषाध्यक्ष रतन साहविरुद्ध गैरकानूनी लाभ तथा हानी पुर्याइ भ्रष्टचार गरेको सम्बन्धमा आज आरोपपत्र दायर गरेको हो ।
उनीहरुले आर्थिक वर्ष २०७४/७५ पिपरा गाउँपालिका–१ को एकरहिया कृषि सडक ओलारदेखि खैरबा सडकको पीसीसी ढलान कार्यलाई बढी मूल्याङ्कन गरी झुट्टा नापी किताब, भुक्तानी बिल र कार्यसम्पन्न प्रतिवेदन स्वीकृत गरी उपभोक्ता समितिलाई रु एक लाख ४८ हजार नौ सय १० भुक्तानी दिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
आयोगले गाउँकार्यपालिकाको कार्यालयका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत झा र तत्कालीन सव–इन्जिनियर मण्डल उपर भ्रष्टाचार कसुरमा र एक लाख ४८ हजार नौ सय १० बिगो कायम गरी कैद र जरिवानाको माग दाबी गरेको छ ।
यस्तै निर्माण उपभोक्ता समितिका अध्यक्ष मिश्र, सचिव खातुन र कोषाध्यक्ष साहलाई रु एक लाख ४८ हजार नौ सय दश बिगोसहित सजायको माग दाबी गरेको छ । उनीहरु विरुद्ध वडा–१ खैरबामा बाटो ढलानकार्य गर्दा कमसल सामग्री प्रयोग गरी गाउँपालिकाबाट प्राप्त रकम हिनामिना गरेको भन्ने आयोगमा उजुरी निवेदन परेको थियो । |
नेपाली सेनाको निमित्त प्रवक्तामा गुरुङ काठमाडौं । नेपाली सेनाको निमित्त प्रवक्ताको जिम्मेवारी महासेनानी अशोक गुरुङले सम्हालेका छन् ।
हालका प्रवक्ता कृष्णप्रसाद भण्डारी काम विशेषले कार्यक्रममा सहभागी हुन विदेश गएकाले केही समयका लागि महासेनानी गुरुङले निमित्त प्रवक्ताका रुपमा आजदेखि कार्यभार सम्हालेका हुन्।
उपत्यका पृतनामा स्टाफका रुपमा कार्यरत महासेनानी गुरुङसँग यसअघि सैनिक जनसम्पर्क निर्देशनालयमा काम गरेको अनुभव छ । |
अतिविशिष्ट र विशिष्ट व्यक्तिहरु विदेशमा उपचार गर्न गएमा सरकारले खर्च दिँदैन : मन्त्री बस्नेत काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनकुमार बस्नेतले वीर अस्पतालमा सेवा हुँदा हुँदै अतिविशिष्ट (भिभिआइपी) र विशिष्ट (भिआइपी) व्यक्तिहरु विदेशमा उपचार गर्न गएमा सरकारले खर्च नदिने बताएका छन् ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) को एक सय ३४औँ वार्षिकोत्सवका अवसरमा मन्त्री बस्नेतले इतिहास बोकेको सो अस्पतालमा भिआइपी र भिभिआइपी क्याबिन विस्तार गरिएको १५ जना चिकित्सकको टोली परिचालन गरिएकाले अतिविशिष्ट र विशिष्टदेखि आम सर्वसाधारणलाई स्वास्थ्य सेवा दिन सक्षम छ भन्ने सन्देश विश्वलाई दिनुपर्ने बताएयो । उनले यस कार्यमा कुनै कमजोरी नगर्न अस्पतालको व्यवस्थापनलाई आग्रह गर्दै मन्त्रालयले आवश्यक सहजीकरण गर्ने विश्वास दिलाए ।
कस्तुरीले आफ्नो बास्ना थाहा नपाए झैँ वीर अस्पतालले आफ्नो सेवाको गुणस्तर र क्षमताबारे आफैँले थाहा नपाएजस्तो हुन नहुनेमा जोड दिँदै उनले आफूले मन्त्रालयले नेतृत्व लिएपछि राष्ट्रिय योजना आयोगले घटाएर ल्याएको बजेटको सिलिङमा करिब १० अर्ब थपेको सुनाए ।
समाज सेवामा नाफा लिने नियत गलत राख्न नहुने उल्लेख गर्दै उनले दस प्रतिशत गरिब, विपन्न, बेवारिसे तथा असाहाय केन्द्रीय अस्पतालमा तीन हजार पाँच सय २३ शैय्या निःशुल्क र सरकारी अस्पतालमा विद्युतीय टिकट अनिवार्य गराइएकाले बिरामीलाई सेवा दिने सवालमा कुनै सम्झौता नगर्न पनि निर्देशन दिए ।
मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रका दक्ष जनशक्तिलाई स्वदेशमै काम गर्न सक्ने सहज वातावरण निर्माण गर्ने जनाए । “कुनै बेला यही वीर अस्पतालले दस महिनासम्म कर्मचारीलाई तलव खुवाउन नसक्ने अवस्था खेपेको थियो ।”
उनले भने, “अहिले उत्साहजनकरुपमा सेवा सुविधा र व्यवस्थापनसमेतमा सुधार आएको छ । म यसमा तपाईँहरुलाई धन्यवाद दिन चाहान्छु । अझै सेवाको स्तर बढाउने काममा दत्तचित्त भएर लाग्नुस् । सुशासन कायम गर्नुस् । तपाईँहरुको सेवा सुविधा अपुग भएमा सरकारले प्रबन्ध गर्नेछ । म मन्त्रीको हैसियतले अशल अभिभावको भूमिका खेल्नेछु ।”
कार्यक्रममा मन्त्री बस्नेतले उत्कृष्ट कार्यसम्पादन गर्ने चिकित्सक, कर्मचारी र स्वास्थ्यकर्मीलाई विभिन्न पुरस्कारबाट सम्मान प्रदान गरेका थिए ।
कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी सचिव देवकुमारी गुरागाईले वीर अस्पताल देशको स्वास्थ्य क्षेत्रको बिम्ब भएकाले यसको विकासमा मन्त्रालयले हरदम सहयोग गर्ने जनाए ।
चिकित्सा विज्ञान राष्टिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति प्राडा भुपेन्द्र बस्नेतले न्याम्सले दक्ष जनशक्ति उत्पादनलाई महत्त्वका साथ अगाडि बढाइरहेको बताउँदै निकट भविष्यमै आईसियुको सङ्ख्या बढाएर सञ्चालन गरिने जनाए ।
वीर अस्पतालका निर्देशक डा सन्तोष पौडेलले १५ शैय्याबाट सुरु भएको अस्पतालमा अहिले नौ सय ६६ शैय्या सञ्चालन हुन थाले पनि सोअनुसार बजेट वृद्ध हुन नसकेको बताए । चालु आर्थिक वर्षमा अस्पतालका लागि रु ७३ करोड मात्र बजेट विनियोजन छ । रासस |
बिरामीको मृत्युपछि भरतपुरको पुरानो मेडिकल कलेजमा तनाव चितवन । भरतपुरमा रहेको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा उपचारका क्रममा महिलाको मृत्यु भएपछि अस्पतालमा तनाव भएको छ । चितवनको खैरहनी नगरपालिका–१० बडगाउँकी ३२ वर्षीया शर्मिला हट्वाल उप्रेतीको मृत्युपछि आफन्तले अस्पताल घेराउ गरेका हुन् ।
चिकित्सकको लापरबाहीका कारण उप्रेतीको ज्यान गएको आरोप लगाउँदै आफन्तहरूले अस्पताल घेराउ गरेका छन् । आफन्तले अस्पताल घेराउ गरेपछि अस्पतालमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ । मृतकका जेठाजु नमराज उप्रेतीका अनुसार साउन ९ गते ज्वरो र पिसाबसम्बन्धी समस्याका कारण शर्मिलालाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । चिकित्सकले हाइडोजको इन्जेक्सन चलाएको र बिरामीलाई समस्या बढ्दै जाँदा चिकित्सक नभएको नहुँदा बिरामीको ज्यान गएको उनको आरोप छ । उनले भने, “अस्पतालको चरम लापरबाहीले सामान्य ज्वरोको बिरामीको ज्यान गएको छ ।”
शर्मिलाको बिहीबार साँझ मृत्यु भएको हो । मृत्युपछि अस्पतालले शव बुझ्न आग्रह गरेपछि आफन्तले बुझ्न अस्वीकार गरेका छन् । यसैबीच अस्पताल प्रशासन र आफन्तबीच आज वार्ता चलिरहेको छ । अस्पताल परिसरमा आफन्तहरूको ठूलो भीड लागेको छ । मृतक शर्मिलाका श्रीमान्, १० वर्ष र ६ वर्षका दुई छोराहरू छन् । यस सम्बन्धमा अस्पताल प्रशासनसँग सम्पर्क गर्न खोज्दा कोही पनि सम्पर्कमा आएनन् । |
चन्द्रागिरिमा भ्यान दुर्घटना हुँदा दुईजनाको मृत्यु काठमाडौं । काठमाडौंको चन्द्रगिरिमा भ्यान दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।
चन्द्रागिरि ४ को पानीघाटमाथि बा१०च ३५४६ नम्बरको भ्यान दुर्घटना हुँदा सिन्धुलीका २० वर्षीय चालक नवराज ठोकर तामाङ र काभ्रे सल्ले भुल्भुका ४५ वर्षीय अनिल तामाङको मृत्यु भएको प्रहरी वृत्त थानकोटले जनाएको छ ।
काठमाडौंबाट चित्लाङतर्फ जाने क्रममा भ्यान सडकबाट पाँच सय मिटर तलको खसेर दुर्घटनामा परेको हो । |
हिमाली हिरा यार्सा बेचेर करोडौँ आम्दानी मुगु। गरिबको हिरा भनेर चिनिने हिमाली जिल्लामा पाइने बहुमुल्य बुटी यार्सागुम्बा बेचेर यहाँका स्थानीयले जीविकोपार्जन गरिरहेका छन्। जिल्लाका सोरु, मुगुम कार्मारोंग गाउँपालिकाका साथै छायाँनाथ रारा नगरपालिकाका स्थानीयले यार्सागुम्बा बेचेर गाउँमा करोडौँ रकम भित्र्याएका हुन्।
देशभर आर्थिक मन्दी भइरहँदा मुगालहरुले भने गाउँमा करोडौँ रकम भित्र्याइ रहेका छन्। गत जेठ ५ गते मुगुका दुई दर्जनभन्दा बढी पाटनमा यार्सा संकलनका लागि मुगुम कार्मारोंग गाउँपालिकाले प्रवेश अनुमति खुल्ला गरेको थियो।
यस वर्ष पाटन तथा हिमालमा यार्सा टिप्न जिल्लाका स्थानीयका साथै दैलेख, जाजरकोट, जुम्ला, डोल्पा, कालीकोट, हुम्ला, मनाङ, मुस्ताङ, बाजुराबाट पनि संकलकहरु आएको यार्सा संकलक छोर्तेन लामाले बताए। उनका अनुसार वर्षाको समय भएकाले पानी र हिउँका कारण यार्सा पाइएको थिएन्। असार ५ गतेपछि मौसममा सुधार आएकाले पर्याप्त यार्सा पाइएको उनको भनाइ थियो।
छायाँनाथ रारा नगरपालिका–१२ लुम्सका कम्वर ऐडीले यार्सा टिप्न पाटन गएका भाइबुहारीले मात्र २५ दिनमा यार्सा बेचेर रू साढे चार लाख आम्दानी गरेका बताए। गाउँभरिका यार्सा टिप्न जाने प्रत्येकले रू दुई लाखबढी आम्दानी गरेका भन्दै यस वर्ष लुम्स गाउँमा मात्रै रू ३० देखि ५० लाखसम्म रकम भित्रिएको उनले अनुमान गरे।
वडा नं १२ शोभा गाउँका स्थानीय गणेशबहादुर सावतका अनुसार यार्सा बेचेर गाउँमा रू एक करोडभन्दा बढी आम्दानी भएको छ। उनका अनुसार मुगालीहरु वर्षभरि खान र वार्षिक आवश्यकताका लागि खर्चको जोहो एक महिना यार्सा टिपेर बेचेको पैसाबाट गर्दै आएका छन्।
व्यापार, खेतीपाती र नोकरीभन्दा महिनादिनभित्र यार्सा टिपेर बढी आम्दानी हुने भएकाले यस मौसममा यहाँका स्थानीय अन्य काम छोडेर यार्सा टिप्न पाटनहरुमा पुग्ने गर्दछन्। यार्सा व्यापारी पाटनमै पुगेर यार्सा संकलकसँग यार्सा खरिद गर्ने भएकाले यार्सा बिक्री गर्न संकलकलाई बजारको समस्या हुँदैन। पाटनमै टिप्ने उतै बेच्ने पैसामात्र घर ल्याउने गर्दछन्।
पाटनमा यार्सा व्यापारीले खाल्वा (ठूलो, राम्रो) यार्सालाई प्रतिबुटी रू आठ सय र मध्यमलाई प्रतिबुटी रू चार सय ५० सम्म दिएका सावतले बताए। उनका अनुसार खाल्वा यार्सा एक केजी पुग्न तीन हजार दुई सय बुटी र मध्यम यार्सा एक केजी पुग्न चार हजारदेखि ४२ सय बुटी आवश्यक पर्दछ।
यार्सा बेचेर मुगुम कार्मारोंग गाउँपालिकाका सबै बस्ती तथा छायाँनाथ रारा नगरपालिकाका केही बस्तीमा सबैभन्दा बढी रकम भित्रिएको यार्सा संकलक बताउँछन्। त्यस्तै, मह गाउँमा मात्रै रू चार करोडभन्दा बढी रकम भित्रिएको स्थानीय बताउँछन्।
माग्री, पाँपु, छाइल, चिमात, दाउरा, सेरोग, कार्ति, किम्री, डोल्फु, पुअ, मुगु, ताखा, खारी गाउँमा रू ५० लाखदेखि एक करोडसम्म रकम भित्रिएको मुगु गाउँका स्थानीय छोर्तेन लामाले जानकारी दिए। उनका अनुसार मुगु गाउँमा मात्रै रू तीन करोडभन्दा बढी रकम भित्रिएको छ। नगरपालिका भित्रका तल्लेख, झाकोट, बालचौर, रोवा, सोभा, लुम्स, घटटलेख, जिउला, र्याङ्गच्याकाटी, थार्प, लुम, बाम, तिर्प, लह, लापुँ गाउँका स्थानीय पनि यार्सा बेचेर मनग्य आम्दानी गरेका छन्।
मुगुम कार्मारोंगस्थित पुअ गाउँका छेवांग लामाका छोराबुहारीसहित चार जनाले यार्सा बेचेर रू २१ लाख कमाएका छन्। यो सिजनमा रू एक करोडभन्दा बढी रकम यार्सा बेचेर गाउँमा भित्र्याएको उनले जानकारी दिए।
किम्री गाउँका कार्मा सेराप लामाले भने, “भगवान्ले हाम्रा लागी हिमालमा यार्सा होइन हिरा उमारी दिएका हुन्। यार्सा नभइदिएको भए घर खर्च चलाउने, बालबच्चाको पढाइलगायत अन्य खर्चको जोहो गर्न गाह्रो हुन्थ्यो । यहाँ काम तथा रोजगारी पाउन गाह्रो छ। खेतीपाती राम्रो उब्जनी छैन, वर्षेभरि एक बाली उब्जन्छ, आफूजस्ता गरिबका लागि यार्सागुम्बा बरदान साबित भएको छ।”
प्रत्येक वर्ष परिवारका चारसदस्य यार्सा टिप्न पाटन जाने र रू छ/सात लाखसम्म आम्दानी हुने गरेको उनले बताए। कोरोनाकालमा दुई वर्ष यार्सा टिप्न नपाउँदा जीविकोपार्जन गर्न निकै कष्ट भएको तीतो व्यथा उनले सुनाए।
“हिमालको हिरा टिप्न सोचेजस्तो सजिलो कहाँ छ र ?”, मह गाउँका राप्के तामाङले भने, “हिउँ/पानीसँग खेल्नुपर्ने, चिसोबाट बेचेर भोक, प्यासको पर्वाह नगरी अग्लाअग्ला हिमाल र पाटनहरुमा यार्सा खोज्दै चहार्नुपर्ने हुन्छ। पाटनमा बिरामी भए मर्नुबाहेक विकल्प रहँदैन। यति सहेर यार्सा पाए पनि कहाँ सुख छ र पाटनमा यार्सा लुटेराहरु बन्दुकसहित पुगेका हुन्छन् तिनीहरुबाट बेचेर यार्सा बिक्री गर्नु र पैसा बोकेर सुरक्षित साथ घर पुग्नु भनेको एउटा ठूलै युद्ध जिते जस्तै हो।”
मुगुका माजिंग थान, ठूलो कोइकी, सानो कोइकी, छापाखोला, टाँके, रिमाड, छुंगडुंग खोला, च्यार्कुलेख, छुमुरु, छुंगडुंग, भावर खोला, असी पाटन, नयाँ वन, टांगवाक, झोवा लेख, वाङ्गरी रमाना, धोवार खोला, च्याङ्गजी लगाएर दुई दर्जनभन्दा बढी पाटनहरुमा यार्सागुम्बा पाइन्छ।
प्रत्येक वर्ष यार्सा टिप्न जाँदा हिउँ पहिरामा परेर, लेक लागेर र अन्य बिमारी भएर, लुटेरा संकलकबीच झडप हुँदा ज्यानसम्म गुमाउनुपर्ने अवस्था आउने तामाङले बताए। यस वर्ष मात्रै पाटनमा हिउँपहिरा परेर, नदीमा खसेर र बिरामी परेर पाँचजनाको मृत्यु भएको गाउँपालिकाले जनाएको छ।
यार्सा टिप्न पाटन जानेसँगबाट प्रवेश शुल्कबापत गाउँपालिकाले रू ४५ लाखसम्म राजस्व उठ्ने गरेको मुगुम कार्मारोंग गाउँपालिकाका अध्यक्ष छिरिंग क्याप्ने लामाले बताए। बर्सेनि पाटनहरुमा कोही न कोही यार्सा संकलनको मृत्यु हुने गरेकाले यस वर्षदेखि मृतकका परिवारका भरणपोषणमा सहयोग गर्ने उद्देश्यले पालिकाले प्रवेशबापत उठ्ने शुल्कबाट यार्सा संकलकको रू पाँच लाख बराबरको ‘यार्सा दुर्घटना बीमा’ गरिदिएको उनले जानकारी दिए। |
मुस्ताङ र मनाङमा ‘लम्पी स्किन’ नियन्त्रण गण्डकी। गाईभैँसीमा फैलिएको ‘लम्पी स्किन’ को सङ्क्रमण मनाङ र मुस्ताङमा नियन्त्रणमा आएको छ। प्रदेशका बाँकी नौ जिल्लामा पनि रोगको सङ्क्रमण दर घट्दै गएको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले जनाएको छ।
“मुस्ताङ र मनाङमा लम्पी स्किनको सङ्क्रमण केही रोकिएको छ, अरु जिल्लामा सङ्क्रमण दर कम हुँदै गए पनि फाट्टफुट्ट रुपमा देखिएको छ”, मन्त्रालयको योजना तथा अनुगमन महाशाखा प्रमुख डा ग्रिष्म न्यौपानेले भने, “गाईभैँसीमा औषधोपचार र खोप अभियान चलिरहेको छ।” उनका अनुसार प्रदेशका ८५ स्थानीय तहमध्ये ८२ मा लम्पी स्किनको सङ्क्रमण देखिएको छ।
मुस्ताङको लोमान्थाङ, लो–घेकर दामोदरकुण्ड र मनाङको मार्फाभूमि गाउँपालिकामा अहिलेसम्म उक्त रोगको सङ्क्रमण नदेखिएको महाशाखा प्रमुख डा न्यौपानेले जानकारी दिए। विसं २०७७ मा पहिलोपटक कास्की, तनहुँ र नवलपुरमा देखिएकामा हालसम्म प्रदेशका ५८ हजार नौ सय ८२ गाईभैँसी सङ्क्रमित भएका मन्त्रालयले जनाएको छ।
“सङ्क्रमितमध्ये दुई हजार दुई सय ८४ गाईभैँसीको मृत्यु भएको छ भने २७ हजार एक सय १८ गाईभैँसी निको भएका छन्”, उनले भने, “बाँकी सङ्क्रमित गाईभैँसीको अहिले पनि उपचार भइरहेको छ।”
गण्डकीमा कूल आठ लाख ५४ हजार नौ सय २५ गाईभैँसी रहेकामा हालसम्म एक लाख तीन हजार दुई सय ३० गाईभैँसीलाई ‘लम्पी स्किन’ विरुद्धको खोप लगाइएको महाशाखा प्रमुख डा न्यौपानले जानकारी दिए। “जिल्लास्थित भटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रमार्फत खोप अभियान सञ्चालन भइरहेको छ। सङ्क्रमित पुश भेटिए तुरुन्त औषधोपचार गरिरहेका छौँ”, उनले भने, “सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि जनस्तरमा सचेतना अभिवृद्धिका कार्यक्रम पनि सञ्चालन भइरहेका छन्।”
भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र मनाङका प्रमुख नारायण कुसुमले जिल्लामा रोगको सङ्क्रण भित्रिएपनि फैलन नपाएको बताए। “ज्यादै कम सङ्ख्यामा रोगको सङ्क्रमण देखिएको थियो, अहिले नियन्त्रणमा आएको छ”, उनले भने, “खोप अभियानलाई तीव्र बनाएका छौँ, पशु प्राविधिक गाउँगाउँ खटिनुभएको छ।”
हिमाली जिल्लामा गाईभैँसीपालन कम हुने भएकाले पनि रोग नियन्त्रण गर्न सहज भएको केन्द्रका प्रमुख कुसुमको भनाइ थियो। चरिचरनमा लैँजादा, एउटै पोखरीको पानी खुवाउँदा, साझा सुइँको प्रयोगलगायत कारणले ‘लम्पी स्किन’ गाईभैँसीमा सर्ने गरेको उनले बताए। सङ्क्रमित गाईभैँसीको ओसारपसार नै यो रोग फैलिनुको मुख्य कारण रहेको पशु चिकित्सक बताउँछन्।
उक्त रोगको औषधि पत्ता नलागेकाले खोप नै बढी प्रभावभारी हुने महाशाखा प्रमुख डा न्यौपानले बताए। उनका अनुसार लामखुट्टे, किर्नाजस्ता टोक्ने किराबाट ‘लम्पी स्किन’ गाईभैँसीमा सर्ने गरेको छ। भाइरसको प्रकृतिअनुसार १० देखि १५ दिनमा रोग निको हुने उनले जानकारी दिए।
‘लम्पी स्किन’ रोग लाग्दा गाईभैँसीमा उच्च ज्वरो आउने, तौल घट्ने, छालामा गाँठागुँठी आउनेजस्ता लक्षण देखिने गरेको छ। सयममै सङ्क्रमण नियन्त्रण गर्न नसके ठूलो पशुधनको क्षति व्यहोर्नुपर्ने अनुमान नेपाल पशु चिकित्सा परिषद्ले गरेको छ। – रासस |
पहिरोले मुहान र पाइप बगायो, खानेपानीको समस्या ढोरपाटन। निरन्तर वर्षाका कारण खसेको पहिराले खानेपानी मुहान र पाइप बगाउँदा बागलुङको गलकोट नगरपालिका–११ रिघाको सिंगो गाउँमा पानीको समस्या भएको छ।
रिगा खानेपानी आयोजनाको मुहान माथिदेखि झरेको पहिराले २५ मिटर पाइप लाइनसहित मुहानलाई क्षतविक्षत बनाएको गलकोट नगरपालिका–११ का वडाध्यक्ष डम्मबहादुर श्रीसले जानकारी दिए।
खानेपानीको समस्या समाधान गर्न विसं २०६८ मा रिघा गाउँदेखि १८ किलोमिटर टाढा गलकोट नगरपालिका–१० पाण्डपवखानीस्थित मूलबाट पानी ल्याइएको उनको भनाइ थियो। चार दिनदेखि धारामा पानी नआउँदा छ सय घरका तीन हजार बढी नागरिकले खानेपानीको समस्या भोग्नुपरेको छ।
“चार दिनभन्दा बढी भयो गाउँमा पानी आएको छैन, पानी नआउँदा स्थानीयवासीले समस्या भोग्नुपरेको छ, पहिराले २५ मिटर जिआइ पाइप बगाएको छ”, मुहानमा पनि ठूलो क्षति पुर्याएको छ”, वडाध्यक्ष श्रीसले भने, “गाउँलेलाई तत्कालका लागि खानेपानी समस्या समाधान गर्ने प्रयास गरेका छौँ, निरन्तर वर्षा भइरहेको हुँदा अहिलेसम्म पानी ल्याउन सकिएको छैन, अहिले अस्थायीरुपमा भए पनि पानी ल्याउने प्रयास भएको छ, बर्खा सकिए पछि दीर्घकालीनरूपमा समाधान गर्ने गरि काम गर्नुपर्छ।”
रिघा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष ताराबहादुर पुनले चार दिनदेखि पानी नआउँदा सरसफाइ र घरायसी काम गर्न समस्या भएको बताए। पहिराले पाइप र मुहान बगाउँदा रिघा गाउँमा १२ वर्ष अगाडिको अवस्था आएको उनको भनाइ थियो। अहिले आकाशे पानीको भरमा स्थानीयवासीले गर्जाे टार्ने गरेका छन्।
अध्यक्ष पुनले भने, “गाउँमा पानीको दुःख भयो भनेर धेरै मेहनत गरी टाढाबाट पानी ल्यायौँ, पानी आएपछि गाउँलेले सुखको श्वास फेरेका थिए, अहिले फेरि समस्या आयो, अहिले कोहीले बासी पानी खान्छन्, कोहीले आकाशको पानी खान्छन्, बर्खामा धारा सुख्खा छन्, पुरानो मुलको पानी ल्याउने कोसिस पनि गरिरहेका छौँ।” |
लमजुङमा राष्ट्रिय परिचयपत्र वितरण सुरू लमजुङ। जिल्ला प्रशासन कार्यालय राष्ट्रिय परिचयपत्र वितरण शुरू गरेकाे छ। १ साउन २०७७ देखि लमजुङमा राष्ट्रिय परिचय पत्रकाे फारम भर्न थालिएकाेमा तीन वर्षपछि परिचयपत्र वितरण थालिएकाे हाे।
जिल्ला प्रशासन कार्यालय लमजुङले बुधबारबाट परिचय पत्र वितरण थालेकाे हाे। प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले एक अनाैपचारिक कार्यक्रमबीच बेसीशहर नगरपालिका-८ का ज्येष्ठ नागरिक प्रेमलाल श्रेष्ठ र बालचन्द्र श्रेष्ठलाइ परिचयपत्र हस्तान्तरण गरी परिचयपत्र वितरण शुरू गरेका हुन्।
लमजुङबाट बुधबारसम्म १ लाख ३५१ जनाले राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिएका छन्। जिल्ला प्रशासन कार्यालयबाट १७ हजार ६९१ जना महिला र २२ हजार २१४ जना महिला गरी ३९ हजार ९०५ जनाले राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिएका छन्।
त्यस्तै कार्यालयले विभिन्न पालिकामा गत माघ ४ गतेदेखि वैशाख मसान्तसम्म सञ्चालन गरेकाे घुम्ती अभियानका क्रममा ६० हजार ४४६ जनाकाे आवेदन संकलन गरिएकाे थियाे। तीमध्ये २०७७ सालमा आवेदन दिएका २ हजार ४ सय ८७ जनाकाे परिचयपत्र बनेर आएकाे प्रजिअ अधिकारीले जानकारी दिए।
कार्यालयबाट परिचय पत्रका लागि आवेदन दिएका र परिचय पत्र तयार भईसकेका सेवाग्राहीकाे माेबाइलमा सन्देश पठाएर जानकारी दिने व्यवस्था मिलाइएकाे छ। यसका आधारमा सेवाग्राहीहरूले कार्यालयमा गएर परिचयपत्र लिन सक्नेछन्। परिचयपत्र लिनका लागि सबन्धित ब्यक्ति स्वयं विवरण संकलनका बेला कार्यालयबाट दिईएको विवरण प्रतिलिपि लिएर उपस्थित हुनुपर्ने प्रजिअ अधिकारीले बताए। |
बैतडीमा धाउलाे धुन र छलिया नाचकाे राेमाञ्चकता (तस्विरसहित) बैतडी। साउने झरीकाकारण बाक्लो हुस्सु लागेर प्रायजसाे अन्धकार देखिने बैतडीकाे खाेडपे बजारमा आजभाेलि साँझकाे समयमा एक छुट्टै प्रकारको उत्साह देख्न पाइन्छ। डिसी नेपालले खाेड्पे बजार पुग्दा बजारका ध्याउलीयाहरु घर बाहिर आगो बाल्दै छालाबाट बनेका बाजाहरु तताउँदै गरेका भटिन्छन्।
बाजा किन त्यसरी तताएकाे भन्ने प्रश्नकाे जवाफमा, बाजा बजाउनेहरु मध्य एकजनाले डिसी नेपाललाई भने, “जस्तै गिटारहरु टुनिङ गरिन्छ, त्यस्तै हाम्रो बाजाहरूलाई मिठो बज्न छाला तन्किन पर्छ। छाला तन्काउन तातो ताप चाहिन्छ। प्राय जसो ठाँउहरुमा घाममा राखेर बाजा तताइन्छ भने हाम्रो खोडपे बजारमा सधैँ कुहिरो लाग्ने भएर घाम खासै देख्न पाइन्न। त्यही भएर हामी आगाेमा तताउने गर्छाैं। खोडपे बजार बैतडीकाे सबै भन्दा उछाइमा रहेको लेक क्षेत्रको बजार हो। बार्है महिना चिसो मौसम हुने खोडपेमा प्राय वर्षातको मौसममा बाक्लो हुस्सु लाग्ने गर्छ। अनि हिउँदमा बाक्लो करिब १ मिटरसम्मको हिउँ पर्ने गर्छ।’
साउन महिना वर्षातकाे महिना। जुन महिनाले आकाशकाे कालाे बादललाई रातदिन अँगालिरहन्छ। त्यही भएर हाेला याे साउन महिनालाई यता खोडपेमा कालो महिना भनेर चिन्निछ।
स्थानीय बिर्खराज अवस्थिले भने “यस कालो महिनाको १ देखि १५ गते सम्म भगवानहरुलाई समझेर ध्याउलो धुन बजाउने परम्परागत चलन छ”। अवस्थिसँगकाे कुराकानीकाे क्रममा ध्याउलियाहरु ताताे बाजा लिएर आउँछन्। र बाजाको तन्केको छालामा तोरीको तेल लगाउँदै बाजा बजाउन तयार हुन्छन्।
ध्याउलो धुन साँच्चिकै अतभूत धुन रहेछ। ध्याउलो धुन सुरु हुँदै गर्दा न्यानोपन सुरु हुन्छ। शक्तिशाली ध्वनीले मुटुकाे ढुकढुकी झन तेज भएको अनुभुती दिलाउँदाे रहेछ। धुन सुन्दा लाग्छ शरीर भित्रको सानो सानो कणहरुले कम्पन छाेडेर सिरिङ्ग भएकाे चिसाे ज्यान तातेकाे जस्ताे महशुस हुन्छ।
६० वर्षीय स्थानीय बासिन्दा बहादुरसिंह भाट भन्छन्, “पहिले पहिले अस्पताल हुँदैन थियाे र यो श्रावणको महिनामा अत्याधिक वर्षातको कारण, प्राय स्थानीयहरु बिरामी हुने गर्थे। आजकाल टाइफाइड भन्छन् नि, त्यस्तै खालकाे काम ज्वराेहरू आउने गर्थ्याे। साउनमा बिरामी हुनेहरुलाई बचाउन धेरै मुस्किल हुन्छ भन्ने चलन थियो।”
साउनको झरीमा पानीबाट सर्ने रोगहरु धेरै नै फैलिने गर्छन्। खोडपेमा मात्रै नभइ नेपालको विभिन्न भूभागहरूमा साउनलाई कालो अनि बिरामी हुने महिना भनेर बुझ्ने मन्यता छ। रोगबाट बच्न खानपीनमा नियन्त्रण गर्ने चलन अझै पनि यथावत नै छ।
धेरैले शुद्ध सात्विक भोजन गर्ने गर्छन्। शुद्ध सात्विक भोजन अर्थात् आफनो घरमा सफासँग लसुन-प्याज, माछा-मासु केही पनि नहाली सफा अनि सरल आहारकाे सेवन गर्छन्।
साउन महिनालाई कालाे र बिरामी हुने महिनाकाे साथै प्राकृतिक प्रकाेपकाे महिना भन्दा फरक नपर्ला। किनकि साउनमा पहाडी भेगहरुमा पहिरो अनि तराईमा बाढीको जोखिम बढ्ने गर्छ।
प्राकृतिक प्रकोपबाट बच्न र रोग फैलिन नदिनलाई भगवानलाई सम्झिने, पूजाआजा गर्ने र व्रत बस्ने चलन धेरै ठाँउमा देख्न सकिन्छ। साउनमा ध्याउलो बजाउने चलन पनि सायद रोग तथा प्रकोपबाट समाजलाई बचाउनको निम्ति एउटा पौराणिक चलन हुनुपर्छ।
अवस्थीका अनुसार पहिले पहिले मन्दिरमा हिँडेर गएर साँझमा बत्ती बाल्ने अनि सबैजना एकमुष्ट भएर ध्याउलो बजाउने चलन थियो। तर आजकल समयको व्यस्तताको कारण ध्याउलो घरघरमा, टाेलटाेलमा बजाउने चलन छ।
तन भन्दा पनि बढी मनकाे व्यस्तताले गर्दा हाेला मान्छेहरूमा एकैछिन मन्दिर जाने पनि समय छैन्। आफ्नो चलन आफनो संस्कार जोगाउनको लागि मात्र औपचारिकता जस्ताे भएको छ।
“आजकाल अस्पताल, डाक्टर,औषधि सबै छ। बिरामी हुँदा काठमाडाैंबाट हेलिकप्टर पनि लिन आइपुग्छ। पहिले जस्ताे काम ज्वारो आएर, उपचार नपाएर ज्यान गुमाउनु पर्ने बाध्यता छैन। त्यसबेला समाजमा पाैराणिक बाजा बजाउने पुजा गर्ने परम्पराहरुलाई एकदम मान्यता अनि विश्वास गर्ने चलन थियो। त्यो परम्पराहरु आजकालका पिँढीलाई रमाइलोको बिषय जस्ताे छ। आफनो चलन आफनो संस्कार जोगाउनको लागी मात्र औपचारिकताकाे रूपमा याे यथावत छ,” स्थानीय भन्छन्।
करिब आधि घण्टा ध्याउलो बजेपछि टाेलका युवाहरु जम्मा हुन थाल्छन्। त्यतिकैमा युवाहरूबाट छलिया नाच पनि नाचाैँ न भन्ने अनुरोधहरु आउन थाल्छन्। छलिया नाच बैतडीको अनौठो अनि रमाइलो नाचमा पर्छ।
ध्याउलोलाई भगवानलाई समझेर गम्भिर भएर बजाइन्छ भने छलिया नाच चाहिँ रमाइलो गर्न, बिहे अनि भोजहरुमा खुशीयाली मनाउन नाचिन्छ। अनुरोध आएपाछि त्यही अनुरूप ध्याउलीयाहरु ध्याउलोमा छलिया नाचलाई पनि समावेश गर्छन्।
ध्याउलो बजाउनेहरु मध्यमा एक जना उठेर बाजा लिएर नाच्न थाल्छन्। उसकाे वरिपरीका दर्शकहरुले खुशीयाली स्वरूप दिएका बक्सिस् पैसाहरु मुखले टिप्छ र मुखमा नोटको झुप्पा रखेर फेरि केही बेर नाच्छ।
बीचमा बाजाको टाेली नाच्दै गर्दा वारिपारिबाट स्थानीयहरु एउटै तालमा नाच्ने गर्छन्। छलिया नाचको रमाइलोको बारेमा थाहा पाउँदै गर्दा वारिपरीका बासिन्दाहरु जम्मा हुन्छन्।
धाउलाे धुन र छलिया नाच हेर्दा मन राेमाञ्चित भावमा पुगिसक्छ। राेकथामकाे एउटा कारण भनेकाे हाँस्नु र नाच्नु हाे भन्ने कुरालाई याे परम्पराद्वारा अपनाएकाे हुनुपर्छ।
कुनै बेलामा प्रकोप बाट बच्न भगवानलाई सम्झिने साउनकाे ध्याउलोले आजभोलि व्यस्ततामा हराएकाे समाजका सदस्यलाई एकैठाँउमा जम्मा गर्ने र जोड्ने काम गर्छ। अखिर मर्दा पर्दा चाहिने भनेकाे समाज नै हाे।
त्यही भएर समाज, छिमेकी र आफन्तबीच आत्मियता, गहिरो सम्बन्ध भयो भने रोगप्रकोप र जतिसुकै जटिल समस्याहरू किन नहाेस् मिलेर लड्न सकिन्छ। अनि जित्न सकिन्छ। समाजलाई जाेड्ने र समय अनुसार चल्न सिकाउने यस्ता परम्परालाई हामीले जीवन्त राख्दै आउने पिँढीलाई सकुशल हस्तान्तरण गर्नुपर्छ।
|
रामेछापमा लम्पी स्किन : ३८१ चौपाया मरे, २१ हजार सङ्क्रमित मन्थली। रामेछापमा लम्पी स्किन सङ्क्रमणबाट तीन सय ८१ पशुचौपाया मरेका छन्। यस रोगबाट २१ हजारभन्दा बढी पशुचौपाया सङ्क्रमित भएका छन्।
लम्पी स्किन रोगबाट रामेछाप नगरपालिमा ७५, मन्थली नगरपालिमा ४०, गोकुलगङ्गा गाउँपालिकामा १५, खाँडादेवी गाउँपालिकामा पाँच, लिखु तामाकोशी गाउँपालिकामा एक सय ५०, सुनापती गाउँपालिकामा ३६ र उमाकुण्ड गाउँपालिकामा ४० गाईगोरु मरेको सम्बन्धित पालिकाको पशु सेवा शाखाले जनाएको छ।
रामेछाप नगरपालिकामा हालसम्म दुई हजार एक सय ९०, मन्थलीमा चार हजार, लिखु तामाकोशीमा पाँच हजार दुई सय, गोकुलगङ्गामा चार हजार, खाँडादेवीमा दुई हजार, उमाकुण्डमा दुई हजार र सुनापतीमा एक हजार छ सय ३५ पशुमा लम्पी स्किन सङ्क्रमण फैलिएको पशु प्राविधिक रोहिणी चापागाईँले जानकारी दिइन्।
दोरम्बा सैलुंग गाउँपालिकामा भने लम्पी स्किनबाट हालसम्म के कति पशुचौपाया प्रभावित भए भन्नेबारे कुनै तथ्यांक छैन। दोरम्बा सैलुंगका पशु सेवा शाखाका प्रमुख राजेन्द्र ढुंगेलले भने,“दोरम्बा सैलुंगमा तथ्यांक संकलनको तयारी गर्दैछौँ।”
लम्पी स्किन रोकथाम तथा नियन्त्रणका लागि पालिकाले निःशुल्क खोप प्रदान गरिरहेका छन्। निश्चित छुटसहित केही शुल्क लिएर अन्य औषधि वितरण गरिएको स्थानीय पालिकाका पशु सेवा केन्द्रका प्राविधिकले बताएका छन्।
रोगबाट किसानले करोडौँ रुपैयाँको क्षति व्यहोर्नुपरेको गोकुलगंगा गाउँपालिका पशु सेवा शाखाका पशु सेवा प्राविधिक लोकप्रसाद फुँयालले बताए। रोगको सङ्क्रमणका कारण दूध उत्पादनमा ह्रास आएको छ। गोरु मरेका कारण तथा बिरामी पर्दा रोपाइँमा समस्या भएको छ। किसानले आर्थिक व्ययभार व्यहोर्नुपरेको छ। |
निजगढमा महिला प्रजनन स्वास्थ्य सबन्धी कार्यक्रममा आकर्षण बढ्दै बारा। निजगढ नगरपालिकाले संचालन गरेको उपप्रमुख महिला प्रजनन स्वास्थ्य प्रवद्र्धन कार्यक्रममा महिलाहरुको आकर्षण बढ्दै गएको छ।
एकीकृत प्रजनन स्वास्थ्य सेवा क्लिनिकमार्फत महिलाहरुको प्रजनन र अन्य सबै प्रकारको समस्या निदान र उपचार हुन थालेपछि कार्यक्रमको लोकप्रियता बढेको हो।
निजगढ नगरपालिकाले संचालन गर्दै आएको कार्यक्रमअन्तगत प्रतेक महिनाको पहिलो आइतवार निजगढस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा शिवीरको आयोजना गरेर विशेषज्ञ चिकित्सकमार्फत नियमित रूपमा महिलाहरुको स्वास्थ्य परीक्षण र उपचार हुने गरेको छ।
शिवीरमा गत असार महिनामा मात्रै ६८ जनाले सेवा लिएका थिए । यो संख्या विगतको तुलनामा बढी भएको कार्यक्रमकी फोकल पर्शन रामप्यारी गौतमले जानकारी दिइन्।
अघिल्ला महिनाहरुमा शिवीरमा सरदर २०-२५ जनाले मात्रै सेवा लिने गरेका थिए। महिला स्वास्थ्यकर्मीहरुकै समुहले स्वास्थ्य परीक्षण र उपचार गर्ने भएकोले यो संख्या बढदै गएको उनले बताए।
उनका अनुसार गत महिना १९ जनाको भिआई ए जाँच, ४ जनाको प्याप स्मेयर, ४ जनाले रिङग पेसरी सेवा लिएका हुन्। साथै १ जनाको बाँझोपनको उपचार अन्य रोगका ९ जनालाई थप उपचारको लागि रिफर गरिएको छ।
त्यसैगरी पाठेघरको मुखमा मासु पलाएको १ जना र महिलाहरु सम्बन्धि अन्य समस्या भएका ३० जना महिलाहरूको परीक्षण गरी निशुल्क औषधी समेत प्रदान गरिएको छ। शिवीरमा नारायणी अस्पताल वीरगञ्जकी महिला तथा स्त्री रोग विशेषज्ञ डा. मन्जु रायले सेवा प्रदान गर्दै आएकी छिन्।
|
चौबीस घण्टामा चार जनामा डेङ्गुको सङ्क्रमण चितवन । जिल्लाका विभिन्न अस्पतालमा उपचारमा आएका बिरामीमध्ये आठ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । चालु आर्थिक वर्षको साउन १ गतेदेखि आजसम्म सो सङ्ख्यामा डेङ्गुको सङ्क्रमण देखिएको हो ।
स्वास्थ्य कार्यालय चितवनका अनुसार पछिल्लो चौबीस घण्टामा मात्रै चार जनामा डेङ्गुको सङ्क्रमण भेटिएको छ । कार्यालयका सूचना अधिकारीराम केसीका अनुसार चालु आवको हालसम्म ८३ जनाको परीक्षण गरिएकामा सो सङ्ख्यामा डेङ्गुको सङ्क्रमण देखिएको हो । सङ्क्रमितमध्ये पाँच जना जिल्ला बाहिरका र तीन जनाको ठेगाना नखुलेको उनले बताए ।
गत आवमा जिल्लामा डेङ्गुका कारण चार जनाको मृत्यु भएको थियो । जिल्लामा भेटिएका दुई हजार तीन सय छ जना सङ्क्रमितमध्ये उनीहरूको मृत्यु भएको हो । कार्यालयका सूचना अधिकारी केसीका अनुसार गत आवमा जिल्लाका विभिन्न अस्पतालमा उपचारमा आएका बिरामीमध्ये १४ हजार सात सय २८ जनाको परीक्षण गरिएकामा तीन हजार तीन सय २४ जनामा डेङ्गु सङ्क्रमण देखिएको थियो । चितवन बाहिरका छ सय ९५ जना र ठेगाना नखुलेका तीन सय २३ बिरामीमा डेङ्गु सङ्क्रमित भएका थिए ।
उनका अनुसार गत आवमा भरतपुर महानगरपालिकामा एक हजार छ सय ४६, रत्ननगर नगरपालिकाका दुई सय ६५ र खैरहनी नगरपालिकामा एक सय ८४ सङ्क्रमित भएका हुन् । यस्तै राप्ती नगरपालिकामा एक सय, कालिका नगरपालिकामा ५५, माडी नगरपालिकामा ४० र इच्छाकामना गाउँपालिकामा १६ जनामा डेङ्गु सङ्क्रमण देखिएको केसीले बताए ।
डेङ्गु एडिस एजेप्टाइ र एडिस एल्वौपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीव्र भाइरल सङ्क्रमण हो । यो रोगको सङ्क्रमण देखिएका बिरामीमा टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसपेशी दुख्ने, शरीरमा बिमिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने वा शरीरमा रगत जमेको दाग देखापर्ने, बेहोस हुने आदि लक्षण पनि देखापर्ने केसीले जानकारी दिनुभयो । यो रोगबाट बच्ने मुख्य उपाय भनेको लामखुट्टेबाट बच्नु भएको उहाँले बताउनुभयो । जिल्लामा पानी पर्ने क्रम जारी भएकाले फेरि डेङ्गुको सङ्क्रमण बढेकाले सबैमा सजग अपनाउन कार्यलयले आग्रह गरेको छ । |
वीरगन्जमा खानेपानीको हाहाकारः ट्याङ्करबाट टोलटोलमा पानी वितरण गरिँदै वीरगन्ज। खानेपानीको ठूलो समस्या भोग्दै आएका महानगरवासीलाई वीरगन्ज महानगरपालिकाले ट्याङ्करबाट टोलटोलमा पानी वितरण गर्ने कार्यलाई तीव्रता दिएको छ । महानगरले ट्याङ्करबाट पानी वितरण गर्नुका साथै विभिन्न स्थानमा अस्थायी ट्याङ्की नै राखेर पानी वितरणको व्यवस्था मिलाएको हो ।
महानगरले वडामा पानी वितरणका लागि समयतालिका नै सार्वजनिक गरेको छ । नगरवासीको जनजीवन सहज बनाउन महानगरले समय नै तोकेर पानी वितरणका लागि तालिका सार्वजनिक गरेको महानगरका प्रमुख राजेशमान सिंहले बताए ।
बिहान ५ः०० देखि राति ८ः०० बजेसम्म विभिन्न १९ वटा वडामा ट्याङ्करमार्फत पानी वितरण गरिरहेको र अन्य वडामा पनि समस्या देखिए पानी उपलब्ध गराउने महानगरप्रमुख सिंहको भनाइ छ ।
ट्याङ्करबाट अहिलेसम्म १९ वटा वडामा दैनिक पानी उपलब्ध गराइरहेको र अहिलेसम्म सातवटा वडाको विभिन्न स्थानमा अस्थायी ट्याङ्की राखिएको महानगरपालिकाले जनाएको छ ।
यसका साथै खानेपानी संस्थानको पाइप लाइन विस्तार भएका ठाउँको सार्वजनिक स्थानमा खानेपानीको धारा राख्ने कामलाई पनि महानगरले तीव्रता दिएको छ ।
खानेपानीको पाइप लाइन वडा नं १ देखि १७ र १९ मा विस्तार भएकाले ती वडाका सार्वजनिक स्थानमा पानीको धारा राख्ने काम भइरहेको महानगरको खानेपानी शाखाका प्रमुख भोगेन्द्र चापागाईँले जानकारी दिए । बढ्दो गर्मीका कारण जलस्तर तल झरेपछि वीरगन्जका विभिन्न वडाका चापाकल सुकेर पानीको हाहाकार भएको छ ।
तत्कालै प्राकृतिकरूपमै जलस्तरमा सुधार आउने सम्भावना कम देखिएकाले महानगरले अहिले पानी ट्याङ्कीमार्फत अस्थायीरूपमा समस्या समाधानको प्रयास गरिरहेको छ ।
यता वीरगन्ज महानगरपालिकाभित्र खानेपानीको मुहान सुक्न थालेपछि नेपाल खानेपानी संस्थानबाट धारा जडान गराउने क्रम बढेको छ । चापाकललगायतका खानेपानीका मुहान सुक्न थालेपछि दैनिक ८०–९० जनासम्म खानेपानीको धारा लिन आउने गरेको नेपाल खानेपानी संस्थान वीरगन्जका प्रमुख ई नीरन महर्जनले जानकारी दिए ।
प्रमुख महर्जनका अनुसार संस्थानले अहिले दैनिक १०–१२ घन्टा धारामा पानी पठाउँदै आएको छ । “पहिला चापाकलबाट पानी आउँथ्यो, त्यतिबेला खानेपानीको धारा लिन स्थानीयले रुचि देखाएनन्”, प्रमुख ई महर्जन भन्छन्, “तर अहिले चापाकललगायत खानेपानीका स्रोत सुक्न थालेपछि धारा लिन आउनेको सङ्ख्या बढेको छ ।” धारा लिन आउनेलाई हामीले ग्राहक बनाएर धारा दिइरहेका छौँ”, उनको भनाइ छ ।
कुल एक लाख ४० हजार जनसङ्ख्या रहेको वीरगन्ज महानगरपालिकाभित्र खानेपानी संस्थानबाट आठ हजार एक सय ग्राहकले नियमित खानेपानीको उपभोग गर्दै आएका छन् ।
दैनिक ६०–६५ लाख लिटर खानेपानी उत्पादन गरी वीरगन्ज महानगर क्षेत्रभित्र वितरण गर्दै आएको खानेपानी संस्थानसँग २० हजार घरधुरीलाई खानेपानी वितरण गर्ने क्षमता रहेको प्रमुख ई महर्जन बताउँछन् ।
वीरगन्ज महानगर क्षेत्रभित्र देखिएको खानेपानीको समस्यालाई मध्यनजर गरी महानगरका हरेक वडामा सार्वजनिक धारा जडान गर्ने योजनासमेत अघि बढाएको उनको कथन छ ।
“हरेक वडामा सार्वजनिक धारा जडानका लागि महानगरपालिकासँग सम्झौता भएको छ”, प्रमुख महर्जनले भने, “यो सम्झौताअनुसार वडा–वडामा सार्वजनिक धारा जडानका लागि उपभोक्ता गठनलगायतको प्रक्रिया सुरु गरिसकेका छौँ । छिट्टै त्यो कार्य गर्छौँ र खानेपानी पुर्याउँछौँ ।” |
द्वन्द्व विश्व शान्तिका लागि समस्या : अध्यक्ष ओली काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले द्वन्द्व विश्व शान्तिका लागि समस्या भएको बताएका छन् । लतिलपुर च्यासलस्थित पार्टी मुख्यालयमा आज वर्ल्ड पिस काउन्सिलका दक्षिण एसियाका प्रतिनिधिसँगको अन्तक्र्रियामा उनले केही देशमा भइरहेको द्वन्द्व विश्व शान्तिका लागि चुनौतीका रूपमा रहेको बताए ।
“कतिपय ठूला देशले अन्य मुलुकमा द्वन्द्व र तनाव सिर्जना थप्ने काम गरेका छन्”, उनले भने, “जसले गर्दा विश्व शान्ति स्थापना गर्न चुनौती भएको छ ।” उनले आफूहरूले शान्ति स्थापना गर्न लागिपरेको बताउँदै नेपाल द्वन्द्व र हिंसाको पक्षधर नबन्ने बताए । अध्यक्ष ओलीले अहिले गरिबी र भोकमरीले मानिसले शान्तिको अनुभूति गर्न नसकेको भन्दै मानिसलाई गरिबी र भोकमरीबाट मुक्त गर्नुपर्नेमा जोड दिए ।
उनले मानवअधिकार, सामाजिक न्याय र भयरहित वातावरणमा बाँच्न पाउनुपर्ने मानिसको अधिकार भएको बताउँदै नेपालमा महिला अधिकारका क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि भएको बताए । अध्यक्ष ओलीले काउन्सिललाई विश्व शान्ति स्थापनाका लागि प्रभावकारीरूपमा काम गर्न आग्रह गरे ।
नेपाल पिस एन्ड सोलिडारिटी काउन्सिलका संयोजक रवीन्द्र अधिकारीले शान्तिका लागि राजनीतिक दलहरूको भूमिका महत्त्वपूर्ण हुने बताए । |
हर्क साम्पाङलाई व्यक्तिको जग्गामा वृक्षरोपण नगर्न अदालतको आदेश काठमाडौं । उच्च अदालत विराटनगरले सर्दु जलधार क्षेत्रमा रहेको व्यक्तिको जग्गामा वृक्षरोपण नगर्न धरान उपमहानगरपालिकालाई अन्तरिम आदेश दिएको छ।
धरान–४ की रोजिना अधिकारीले दायर गरेको रिटमा न्यायाधीश मिलनकुमार राईको इजलासले मुद्दाको अन्तिम टुंगो नलागेसम्म व्यक्तिको नाममा रहेको जग्गामा अनधिकृत रूपमा प्रवेश गर्ने, विरुवा रोप्नेजस्ता काम नगर्न आदेश दिएको हो।
‘प्रस्तुत निवेदनको अन्तिम टुङ्गो नलागेसम्म निवेदकको नाम दर्ताको कि।नं। ४२१ र ३४५ को जग्गामा अनाधिकृत रुपमा प्रवेश गर्ने, वृक्षारोपण गर्ने गराउने कार्य नगर्नू नगराउनु भनी उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम विपक्षीहरुको नाममा अन्तरिम आदेश जारी गरिदिएको छ । आदेशको जानकारी विपक्षीहरुलाई दिई नियमानुसार पेस गर्नू,’ आदेशमा भनिएको छ ।
साथै अदालतले उपमहानगरलाई रिट निवेदकको मागबमोजिमको आदेश जारी नहुनुपर्ने कुनै आधार, कारण र प्रमाण भए १५ दिनभित्र लिखितरूपमा जवाफ पेस गर्न भनेको छ।
|
लाजिम्पाटस्थित चिनियाँ बस्ने घरमा राजश्व विभागको छापा काठमाडौं । आन्तरिक राजश्व विभागले चिनियाँ नागरिकले भाडामा लिएको लाजिम्पाटस्थित एक घरमा छापा मारेको छ।
एक क्विन्टल सुन तस्करी प्रकरणमा साउन ४ गते त्रिभुवन विमानस्थलबाट पक्राउ परेका चिनियाँ लिङ चुवानले भाडामा लिएको उक्त घरमा विभागले बिहीबार छापा मारेको हो। उक्त घरबाट विभागको टोलले महत्त्वपूर्ण कागजात र केही सामग्री बरामद गरेको जनाएको छ।
केही बाकसहरुसमेत बरामद गरिएको र उक्त बाकसमा सुन छ कि छैन भन्ने खुलाइएको छैन।
विभागले बुधबार मात्रै सुन ल्याउने रेडी ट्रेडर्स कम्पनीको सोह्रखुट्टेस्थित गोदाममा छापा मारेको थियो। त्यहाँ ब्रेक शु बरामद भएको थियो। |
चोरीका एक दर्जन मोटरसाइकलसहित ७ जना पक्राउ बारा । बारा प्रहरीले चोरीका १२ वटा मोटरसाइकलसहित सातजनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यलय बाराका अनुसार बाराको बिभिन्न स्थानबाट चोरी भएको १२ मोटरसाइकलसहित मोटरसाइकल चोरी गर्ने गिरोह प्रहरीले पक्राउ गरेको हो ।
चोरी भएका बा २६ प ७७५३, ज ११ प ८४९५, ना ५१ प २७९०, ना ५२ प ७१३२, BR 05 F 0603, BR 05 A 9062, , ना ४१ प ८४६८, बा ९० प ५००८, मधेश प्रदेश ०३ ०२६ प ९९५६, बा ६४ प ४६८४ र दुईवटा अन टेस्ट नयाँ मोटरसाइकल नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ ।
प्रहरीले जिल्ला बारा जितपुरसिमरा उपमहानगरपालिका वडा नं. १६ का १९ वर्षीय विर्धोज वाईवा, सोही ठाँउका १९ वर्षीय सुदर्शन बोम्जन, कलैया उपमहानगपालिका वडा नं. २० बस्ने २० वर्षीय दिपेन्द्रकुमार महतो, सोही ठाँउका १९ वर्षीय राधेश्याम महता, सोही ठाँउका २१ वर्षीय सतेन्द्र कुमार गुप्ता, महागढीमाई नगरपालिका वडा नं. ९ का २० वर्षीय राजीनन्द महतो र रौतहट जिल्ला चन्द्रनिगाहपुर नगरपालिका वडा नं. २ का २६ वर्षीय पंचालाल बलोनलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।
मोटरसाइकल चोरी भएको निवेदनको आधारमा खोजतलास गर्दै जाने क्रममा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा विभिन्न समयमा मोटरसाइकल मानिस बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई चोरी तथा डाँकासम्बन्धी मुद्दामा बारा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको बारा प्रहरीले जनाएको छ ।
|
‘अन्तर्राष्ट्रिय युवा दिवस’ नेपालमा पनि भव्य रुपमा मनाइने काठमाडौं । ‘अन्तर्राष्ट्रिय युवा दिवस’ नेपालमा पनि भव्य रुपमा मनाइने तयारी भएको छ ।
आगामी साउन २८ गते दिवस मनाउन युवा तथा खेलकुदमन्त्री डिग बहादुर लिम्वुको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ । युवाहरुलाई देश र जनताप्रति जवाफदेही हुने गरी काम गर्न प्रेरित गर्ने उद्देश्यले दिवस मनाउन लागिएको राष्ट्रिय युवा परिषदका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए । उक्त दिन बिहान काठमाडौंको भृकुटीमण्डपबाट प्रभातफेरी कार्यक्रम समेत आयोजना हुनेछ ।
प्रभातफेरीमा नेपाली सेना, नेपाल प्रहरी, सशष्त्र प्रहरी बल लगाएत राष्ट्रिय खेलकुद परिषदको समेत सहभागिता हुने बस्नेतले बताए । उनले पछिल्लो जनगणना अनुसार नेपालमा युवाको संख्या ४० दशमलव ५६ प्रतिशत रहेको जानकारी दिए ।
संयुक्त राष्ट्र संघको आह्वानमा हरेक वर्ष अगष्ट १२ को दिन विश्वव्यापी रुपमा सो दिवस मनाउने गरिन्छ । |
रामेछापमा अझै हुन सकेन धान रोपाइँ, खडेरीले बाली सुक्यो काठमाडौं । देशका विभिन्न भागमा अत्यधिक वर्षाका कारण बाढी पहिरोका समाचार आइरहेका बेला रामेछापमा भने पर्याप्त पानी नपर्दा धान रोपाइँ हुन सकेको छैन । साथै खडेरीले बर्खे बालीका रुपमा लगाइएका बाली पनि सुक्न लागेका छन् ।
जिल्लाको बढी धान हुने माडी फाँट, मन्थली फाँट मुगिटार फाँट, खिम्ती बेसी, तिल्पुङ हलेदे बेँसीलगायतका ठाँउमा उल्लेख्यरुपमा अझै धान रोपाइँ हुन सकेको छैन । पानीका भल छोपेर रोप्नुपर्ने पाखे खेतमा रोप्न राखिएको धानको बीउ छिप्पिन लागिसकेको छ । बीउ छिप्पिएपछि धान रोप्नु र नरोप्नुको कुनै अर्थ नहुने कृषि विज्ञ बताउँछन् ।
धान रोप्नेमात्र नभई पाखो बारीमा छरिएका बर्खे बाली मकै, गहत, कोदोलगायतका बाली पनि खडेरीका कारण सुक्न लागेका हुन् । जिल्लामा बिहान बेलुका सामान्य धुलो मर्ने गरी कहिलेकाहीँ पानी पर्ने गरेको भए पनि जमिन भिज्ने र खोलानाला आउने गरी दुई महिनाअघिदेखि पानी पर्न सकेको छैन ।
जिल्लामा रहेको कूल खेतीयोग्य जमिन ५० हजार नौ सय आठ हेक्टर रहे पनि धान रोप्न योग्य जमिन सात हजार आठ सय ५९ हेक्टर रहेको छ । त्यसमध्ये अहिलेसम्म करिब ४४ प्रतिशत मात्र धान रोपिएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
केन्द्र प्रमुख निर्मला गुरुङका अनुसार वर्षाको समयमा पर्याप्त पानी नपर्दा धान रोपाइँ हुन नसकेको हो । यसअघि असार १५ गते धान रोपेर धान दिवस जिल्लाका विभिन्न पालिकामा मनाइएको भए पनि त्यसपछि भने पर्याप्त वर्षा नहुँदा जिल्लाका किसानले धान रोप्न पाएका छैनन् ।
रामेछापमा मात्र होइन सिन्धुलीका बढी धान उत्पादन हुने सुनकोशी गाउँपालिका र गोलन्जोर गाउँपालिकामा पनि पर्याप्त धान रोपाइँ हुन नसकेको सुनकोशी गाउँपालिकाका उपाध्यक्ष कपिल कोइरालाले बताए । |
तीन महिनामा १४ हिमाल चढेर हरिला र शेर्पाद्वारा नयाँ रेकर्ड काठमाडौं । नर्वेकी आरोही क्रिस्टिन हरिला र नेपाली गाइड तेन्जेन (लामा) शेर्पाले विश्वको दोस्रो अग्लो केटु हिमालको सफल आरोहण गरेका छन् ।
पाकिस्तानमा रहेको केटु हिमाल ब्रोडपिक (८,६११ मिटर) को हरिला र शेर्पाले आज बिहान १०ः४५ बजे सफल आरोहण गरेको सेभेन समिट ट्रेक्स कम्पनीले जानकारी दिएको छ ।
उक्त हिमालको सफल आरोहणसँगै क्रिष्टिन र तेन्जेनले विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालहरु तीन महिनामा सफल आरोहण गरेको कम्पनीको भनाइ छ । उनीहरुले तीन महिनामा १४ वटै हिमाल आरोहण गरेको कम्पनीका प्रबन्ध निर्देशक मिङमा शेर्पाले जानकारी दिए । यसअघि आरोही निर्मल पूर्जाले सन् २०१९ मा छ महिना छ दिनमा पूरा गरेका थिए ।
हरिला र शेर्पाले आठ हजार मिटरभन्दा अग्ला १४ बाट हिमाल चार महिनाभित्रै आरोहण गर्ने लक्ष्य राखेका थिए । हरिला यसअघि विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल एक वर्ष पाँच दिनमा सफल आरोहण गरी सबैभन्दा छिटो आरोहण गर्ने पहिलो महिला आरोही बनेकी थिइन् ।
हरिला र शेर्पाले सगरमाथा, कञ्चनजङ्गा, ल्होत्से, मकालु, धौलागिरी, अन्नपूर्ण, मनास्लु, चो ओयु, शिशपाङ्मा, नङ्गा पर्वत, गाशरब्रम–२, गाशरब्रम–१, ब्रोडपिक र केटु हिमालको सफल आरोहण गरिसकेका छन् । |
विभिन्न मुलुक पठाईदिन्छु भन्दै रकम ठगी गर्ने तीनजना पक्राउ काठमाडौं । वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाईदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सुनसरी बराहक्षेत्र नगरपालिका–७ घर भई भक्तपुर सूर्यविनायक बस्ने ३१ वर्षीय मौसम मग्राती, सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका–५ घर भई काठमाडौं महानगरपालिका–३२ कोटेश्वर बस्ने ३२ वर्षीय अनन्त प्रकाश श्रेष्ठ र उदयपुर ताप्ली गाउँपालिका–४ घर भई ललितपुर महानगरपालिका नखिपोट बस्ने ३० वर्षीय प्रचलन राई रहेका छन् ।
उनीहरूमध्ये मौसम मग्रातीले १ जनालाई माल्टा पठाई आकर्षक तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट रकम ठगी गरेको, अन्नत श्रेष्ठले १ जनालाई पोल्याण्ड पठाई प्रतिष्ठित कम्पनीमा मासिक २ लाख रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी ८ लाख रुपैयाँ ठगी गरेको र प्रचलन राईले १ जनालाई क्रोसिया पठाई प्रतिष्ठित कम्पनीमा मासिक १ लाख रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी ६ लाख रूपैयाँ ठगी गरेको खुल्न आएको छ ।
साथै उनीहरूलाई पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले श्रेष्ठलाई काठमाडौं जोरपाटी नारायणटारबाट मंगलबार तथा मग्रातीलाई काठमाडौं काँडाघारीबाट र राईलाई ललितपुर नखिपोटबाट बुधबार पक्राउ गरेको हो ।
उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । |
बागमती प्रदेशमा घट्यो गाडी भाडा काठमाडौं। बागमती प्रदेशसमा सार्वजनिक यातायातको भाडा घटेको छ । बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयलका अनुसार काठमाडौं उपत्यकासहित बागमती प्रदेशभर लागु हुने गरी सार्वजनिक यातायातको भाडा घटाइएको हो ।
लामो दूरीको सार्वजनिक यातायातमा २.३० प्रतिशत, सिटी बसमा २.२६ प्रतिशत र मालवहाक सवारीमा ३.१८ प्रतिशत भाडा घटेको छ ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा स्वाचालित मूल्य प्रणाली लागु गरेसँगै इन्धनको भाउ घटेपछि मन्त्रालयले पनि सार्वजनिक यातायातको भाडा घटाएको हो । |
पाल्पामा सम्बन्धविच्छेदका मुद्दा बढ्दै रामपुर। पाल्पामा पछिल्लो तीन वर्षयता सम्बन्धविच्छेद गर्नेको सङ्ख्या बढ्दै गएको छ। जिल्ला अदालत पाल्पामा दर्ता भएका मुद्दामध्ये ४३ प्रतिशत सम्बन्धविच्छेदका मुद्दा रहेका छन्।
आर्थिक वर्ष २०७९/८० मा एक हजार १७ मुद्दा दर्ता भएकामा चार सय ४३ सम्बन्धविच्छेदका रहेका जिल्ला अदालतका तहसिलदार भेषराज खनालले बताए। उनका अनुसार सम्बन्धविच्छेदका तीन सय ६३ मुद्दा मात्र फस्र्यौट भएका छन्। गत आवमा दर्ता भएका कूल मुद्दामध्ये ७१.६८ प्रतिशत फस्र्यौट भएको जिल्ला अदालतले जनाएको छ।
त्यस्तै, आव २०७८/७९ मा आठ सय ३४ मुद्दा दर्ता भएकामा तीन सय ७४ मुद्दा सम्बन्धविच्छेदका थिए। सो अवधिमा दुई सय ९२ मुद्दा फस्र्यौट भएका थिए। आव २०७७/७८ मा छ सय ३६ मुद्दा दर्ता भएकामा दुई सय २८ सम्बन्धविच्छेदसम्बन्धी मुद्दा दर्ता भएका थिए।
सो अवधिमा एक ४६ मुद्दा मात्र फस्र्याैट भएका खनालले बताए। उनका अनुसार पछिल्लो तीन वर्षमा जिल्लामा दुई हजार चार सय ८७ मुद्दा दर्ता भएकामा एक हजार ४५ सम्बन्धविच्छेदका छन्।
अपरिपक्व उमेरमा गरिएको विवाह, प्रेम विवाह र वैदेशिक रोजगारीलगायत कारणले सम्बन्धविच्छेद गर्ने दम्पत्तीको सङ्ख्या बढ्दै गएको खनालको भनाइ छ। उनका अनुसार अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा धेरै सम्बन्धविच्छेदका छन्।
वैदेशिक रोजगार, कम उमेरमा विवाह, प्रेम विवाह, सामाजिक सञ्जालको बढ्दो प्रयोग र अन्य पारिवारिक समस्याका कारण पछिल्ला समयमा सम्बन्धविच्छेद गराउनेको सङ्ख्या बढ्दै गएको देखिएको छ। |
फिदिम बोलेरो दुर्घटना : मृतकको सङ्ख्या तीन पुग्यो पाँचथर। मंगलबार पाँचथरको फिदिममा भएको बोलेरो जीप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ। दुर्घटनामा गम्भीर घाइते भई झापाको विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचाररत ताप्लेजुङको मिक्वाखोला गाउँपालिका– ५ पापुङकी २६ वर्षीया इसेटिमा शेर्पाको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी मिलन थापाका अनुसार गम्भीर घाइते शेर्पाको सो अस्पतालमा भेन्टिलेटरमा राखी उपचार भइरहेको थियो।
दुर्घटनामा गम्भीर घाइते भएकी शेर्पालाई जिल्ला अस्पताल पाँचथरमा प्रारम्भिक उपचारपछि विर्तामोड लगिएको थियो। दुर्घटनामा गम्भीर घाइते ताप्लेजुङको मैवाखोला गाउँपालिका–१ ढुंगासाँघुका ४५ वर्षीय जीतेन्द्रमणि विक्रम वनेमको मंगलबार जिल्ला अस्पताल पाँचथरमा र पाँचथरको फिदिम नगरपालिका–१० की ४० वर्षीया सविना विकको झापा लैजाने क्रममा बाटोमा मृत्यु भएको थियो।
झापाको विर्तामोडबाट पाँचथरको फिदिम आउँदै गरेको मे १ ज १९४१ नं को बोलेरो जीप मंगलबार दिउँसो १२:१५ बजे फिदिम नगरपालिका–२ कृष्णमन्दिर छेउमा दुर्घटना भएको थियो । चालकले घुम्ती मोड्न नसक्दा सडकबाट करिब दुई सय मिटर तल झरी बोलेरो दुर्घटना भएको थियो।
दुर्घटनामा बोलेरोमा सवार चालकसहित १३ यात्रु घाइते भएका थिए, तीमध्ये तीन जनाको मृत्यु भएको हो। बाँकी चार जनाको झापाका विभिन्न अस्पतालमा र अन्यको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। घाइतेमध्ये एक जना पाँच वर्षीया बालिका पनि समेत छिन्। |
वैदेशिक रोजगारीका क्रममा रोल्पाका ३९ जनाको मृत्यु रोल्पा। रोल्पाका ३९ जनाले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका छन्। जिल्ला प्रशासन कार्यालयको आप्रवासी सूचना केन्द्रको अभिलेखअनुसार तीन वर्षको अवधिमा ३९ जनाको मृत्यु भएको हो ।
सूचना केन्द्रमा प्राप्त मुद्दाका आधारमा मृत्युको सङ्ख्या अद्यावधिक गरिए पनि वास्तविक मृत्यु योभन्दा धेरै हुनसक्ने सूचना केन्द्रका कर्मचारी स्मृति रोकामगरले बताइन्। यस अवधिमा सबैभन्दा धेरै ज्यान गुमाउने परिवर्तन गाउँपालिकाका छन् । कम ज्यान गुमाउनेको सङ्ख्या थवाङ र माडी गाउँपालिकामा छ ।
परिवर्तन गाउँपालिकाबाट यस अवधिमा आठ जनाले ज्यान गुमाएको अभिलेखमा उल्लेख छ ।
यसैगरी थवाङ र माडी गाउँपालिकाबाट यस अवधिमा एक/एक जनाले ज्यान गुमाएका छन् । वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउने अन्य पालिकामा रोल्पा नगरपालिका र रुन्टीगढी गाउँपालिकाबाट छ/छ जना, सुनिलस्मृति गाउँपालिकाबाट पाँच, लुङ्ग्री गाउँपालिकाबाट चार जनाले ज्यान गुमाएका छन् ।
यसैगरी त्रिवेणी र गङ्गोदव गाउँपालिकाबाट तीन/तीन जना र सुनछहरी गाउँपालिकाबाट दुई जनाले ज्यान गुमाएका छन् ।
रोजगारदाता राष्ट्रका आधारमा सबैभन्दा धेरै साउदी अरबमा २० जनाले ज्यान गुमाएका छन् । यसैगरी मलेशियामा सात, कतार र युएईमा तीन/तीन, कुवेतमा दुई तथा अल्जेरिया, क्रोसिया, शिसालिसलगायत देशमा एक/एक जनाले ज्यान गुमाएका छन् ।
वैदेशिक रोजगारीमा जानेका लागि परामर्श सेवा दिन जिल्ला प्रशासन कार्यालयमा सुरक्षित वैदेशिक रोजगारीका लागि आप्रवासी स्रोतकेन्द्र स्थापना गरिएको छ । हेल्भेटासको सहयोगमा स्थानीय गैरसरकारी संस्था विकास सरोकार समाजले जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी उक्त स्रोतकेन्द्र स्थापना गरेको हो । |
टाँगियाबस्तीमा बढ्यो बाघको त्रास बारा। बाराको टाँगियाबस्तीमा दुई साताअघि स्थानीय एक किसानको १० वटा बाख्रा बाघले मारेपछि स्थानीय बासिन्दा त्रासित भएका छन्। बस्ती नजिकैको जंगलमा बाघको गतिविधि बढेपछि सर्वसाधारण घाँसदाउराको लागि जंगल जान र साँझ बिहान घरबाहिर निस्कन पनि डराएका हुन्।
बाघकै त्रासमा बस्तीका किसानले केही दिनदेखि जंगलमा चौपाय चराउन छोडेका छन्। स्थानीय धनबहादुर थिंगले जंगलमा चराउन लगेको १० वटा बाख्रा दुई साताअघि बाघले आक्रमण गरेर मरेपछि गाउँमा त्रास फैलिएको हो।
सो घटनापछि बस्ती नजिकैको जंगलमा बाघ बस्दै आएको स्थानीयले बताएका छन्। स्थानीयलाई असुरक्षित पार्ने बाघ नियन्त्रण लिन सरकारले चासो नदेखाएको सर्वसाधारण असुरक्षित बनेको स्थानीय बासिन्दा एंवम जीतपुरसिमरा वडा नम्बर १६ की वडा सदस्य पबित्रा कार्कीले बताइन्।
बस्ती निरक्षणको क्रममा आएका नगर प्रमुख मेयर राजन पौडेलले बाघले बाख्रा मारेर पीडित बनेको किसान परिवारमा राहतको लागि पहल गर्ने आश्वासन दिएको भएपनि अहिलेसम्म कुनै राहत नपाएको उनले बताइन्।
यता स्थानीय अगुवा रमेश सापकोटाले भने सरकारले नै स्थानीयलाई जंगलमा ल्याएर अलपत्र पारेर राखेको र अहिले गाउँलेहरुले जंगली जनावरको त्रास खेप्नु परेको बताए।
०३२ सालदेखि बसोबास गर्दै आएको बस्तीमा हाल अन्तर्राष्टिय विमानस्थलन निर्माणको लागि प्रस्ताव गरेको छ। विमानस्थल निर्माणको लागि सरकारले हालसम्म ३ करोड खर्च गरि सकेको भएपनि बस्ती व्यवस्थापन र स्थानानन्तरणको काम भने अघि बढन नसकेको सापकोटाको भनाइ छ। |
प्राविधिक शिक्षा : सिक्दै, कमाउँदै छन् विद्यार्थी बेनी। म्याग्दीको मालिका गाउँपालिका–७ बिममा रहेको किसानी माविमा सञ्चालित प्राविधिक शिक्षा प्रभावकारी बनेको छ। किसानी प्राविधिक शिक्षालय अन्तर्गत बाली विज्ञान र पशु विज्ञान विषय अध्ययन गर्दै आएका विद्यार्थीलाई लक्षित गरी सञ्चालित सिक्दै कमाउँदै कार्यक्रम फलदायी बनेको हो।
शिक्षालयको बाली विज्ञानतर्फका विद्यार्थीले प्रयोगात्मक सिकाइका लागि गरेको तरकारी खेती व्यावसायिक नै बनेको छ। यहाँका विद्यार्थीले करिब १२ रोपनीमा तरकारी र धान खेती गर्दै आएका छन्। करिब तीन रोपनीमा बर्खे तरकारी खेती गरेका विद्यार्थीको करेसाबारीमा अहिले लौका, गोलभेडा, घिरौँला, तितेकरेला, भाण्टा लगायतका तरकारी उत्पादन भएको छ।
विद्यार्थीको करेसाबारीको उत्पादन रहरलाग्दो छ । विद्यार्थीले उत्पादन गरेको कृषि उपज उनीहरु स्वयमले प्रयोग गर्छन् भने गाउँमासमेत बिक्री गर्दै आएको शिक्षालयका प्रमुख करन कँडेलले जानकारी दिए। उनका अनुसार, बाली विज्ञान तर्फका विद्यार्थीले एक हजार किलोग्राम बढी आलु उत्पादन गरेर बिक्री गरिसकेका छन्।
यसअघि उनीहरुले च्याउसमेत उत्पादन गरेर बिक्री गरी आम्दानी गरेका थिए । विद्यार्थीले चार रोपनी जग्गामा धान खेतीसमेत गरेका छन्। यस शिक्षालयमा पशु विज्ञान अध्ययन गर्ने विद्यार्थीले कुखुरापालन गर्दैै आएका छन्।
‘‘सिक्दै कमाउँदै कार्यक्रम निकै प्रभावकारी बनेको छ, उनीहरु विद्यालय समय भन्दा बाहिरको समयलाई उत्पादनमूलक क्षेत्रमा लगाएका छन्, व्यवहारिक शिक्षासँगै आम्दानी समेत गर्न सफल भएका छन’-शिक्षालयका प्रमुख कँडेलले भने।
विसं २०६८ मा सिटिइभिटीबाट सम्बन्धन प्राप्त गरी १८ महिने जेटिए, तीन वर्षे बाली विज्ञान र तीन वर्षे पशु विज्ञानमा पठनपाठन गराउँदै आएको प्राविधिक शिक्षालयमा अहिले कूल एक सय ४२ जना अध्ययनरत छन्।
यहाँ अध्ययन गरेका विद्यार्थी कृषि र पशु शाखातर्फ विभिन्न क्षेत्रमा रोजगारमासमेत आवद्ध हुने क्रम बढेको र घरपरिवारलाई समेत उत्पादनसँग जोड्न सफल भएको विद्यालयका प्रधानध्यापक जङ्गबहादुर गर्बुजाले जानकारी दिए । यस शिक्षालयले १८ महिने जेटिए, तीन वर्षे बाली विज्ञान र तीन वर्षे पशु विज्ञानतर्फ ४०/४० जना सिटमा भर्ना खुलाएको छ। रासस |
काभ्रेका उद्योगका खाद्यवस्तु न्यून गुणस्तर र दुषित काभ्रे। काभ्रेपलाञ्चोकको धुलिखलस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले विभिन्न स्थानमा उत्पादन भई बिक्रीवितरण भएका खाद्यवस्तु न्यून गुणस्तर र दूषित भएको प्रतिवेदन सार्वजनिक गरेको छ।
कार्यालयद्वारा गत आर्थिक वर्ष २०७९/८० मा गरेको अनुगमन निरीक्षणका आधारमा सार्वजनिक वार्षिक प्रतिवेदनमा जिल्लाका विभिन्न स्थानका उद्योगबाट उत्पादित खाद्य सामग्री न्यून गुणस्तर भएको, दूषित देखिएको तथा अनुज्ञापत्रसमेत नलिइ उत्पादन तथा बिक्री वितरण र उत्पादन गरेको उल्लेख गरिएको छ।
प्रतिवेदनमा केही उद्योगलाई काभ्रेपलाञ्चोकमा तथा केही उद्योगलाई सम्बन्धित जिल्लामा मुद्दाका लागि मिसिल पठाएको जनाइएको छ। कार्यालय प्रमुख मनिषा चापागाईंले विभिन्न स्थानमा गरिएको अनुगमन निरीक्षण्का क्रममा काभ्रेपलाञ्चोकलगायत विभिन्न छ जिल्लामा उत्पादित खाद्यसमग्री मापदण्डविपरीत रहेको पाइएपछि मुद्दा दायर गरिएको छ।
प्रतिवेदनमा बनेपा नगरपालिका–८ स्थित शुभारम्भ डेरी एण्ड एग्रोभेट रिसर्च प्रालिले उत्पादन गरेको खाद्यवस्तु न्यून गुणस्तर रहेको पाइएको छ।
साथै बटरफ्लाई फ्रुट क्यानिङ कम्पनी बत्तिसपुतली, काठमाडौँबाट उत्पादित ‘मिक्स पिकल’, तुलसीपुर दाङमा रहेको स्वर्गद्धारी वि कन्र्सन प्रालिद्वारा उत्पादित मह, ललितपुर ठेचेमा रहेको सगुन ओइल एण्ड घी प्याकिङ इण्ड्रस्ट्रिज प्रालिद्वारा उत्पादित तोरीको तेल पनि न्यून गुणस्तर भएको प्रमाणित भएसँगै सम्बन्धित जिल्ला अदालतमा मुद्दा दायर गरिएको जनाइएको छ।
कार्यालयका अनुसार मनोहरा–१४ काठमाडौस्थित बद्रिनाथ घि प्याकिङ उद्योगबाट उत्पादित बेकरी सर्टेनिङ, अन्नपूर्ण भेजिटेबल प्रोडक्ट्स प्रालि वीरगञ्जबाट उत्पादित वनस्पती घ्यू, पतञ्जली आयुर्वेद प्रालि बाराद्वारा उत्पादित महविरुछ पनि मुद्दा दायर गरिएको छ।
चापागाईंका अनुसार दाना पदार्थ, दुग्ध पदार्थ र होटल व्यवसायमा गरिएको अनुगमन र त्यहाँबाट संकलित खाद्य सामग्रीको नमुनाका आधारमा जिल्ला बाहिरका छ उद्योगबाट उत्पादिन खाद्य सामग्री पनि मापदण्ड विपरीत रहेको पुष्टी भएको हो। यस्तै गत आवमा ५४ किसिमका खाद्य वस्तु न्यून गुणस्तर तथा दूषित भएको प्रमाणित भएपछि जफत गरी नष्ट गरिएको छ।
चापागाईंले वार्षिक समीक्षा कार्यक्रममा उक्त अवधिमा १३ उद्योग अनुज्ञापत्र माग गरिएको थियो भने। अनुज्ञापत्र बिना सञ्चालन भएका केही उद्योगलाई कारबाही गरिएको बताए।
कारबाही गरिएकामा काभ्रेपलाञ्चोकको बनेपा–८ को शुभारम्भ डेरी एण्ड एग्रोभेट रिसर्च प्रालि, बनेपा–६ स्थित तिमल्सिना प्याकेजिङ एण्ड फुड प्रडक्स प्रालि, बनेपा–८ को चण्डेश्वरी स्पेसल ताजा गुदपाक भण्डार तथा गाईभैँसीको मास दानामा प्रयोग गरिने सामग्री र उत्पादित दाना दूषित भएकोमा बनेपा–८ का जेएम दाना उद्योग र बिना लेवल खाद्य पदार्थ बिक्री गरेको अभियोगमा एभर फ्रेस बेकरीलगायत रहेका छन्। |
तोकिएको समयमा कर बुझाउन काठमाडौं महानगरको आग्रह काठमाडौं। काठमाडौं महानगरपालिकाले तोकिएको अवधिभित्रै आफ्नो व्यवसायको कर बुझाउन आग्रह गरेको छ। काठमाडौं महानगर पालिकाको राजस्व विभागले सूचना जारी गर्दै कर बुझाउन तथा र छुट सुविधा लिनसमेत अनुरोध गरेको छ।
महानगरले तीर्न÷बुझाउनपर्ने सम्पत्ति कर/बहाल कर/व्यवसाय करमा दिएको छुट सुविधा लिन आग्रह गरेको छ। सम्पत्ति, व्यवसाय र बहाल कर नियमित तिर्नेलाई आउँदो पुस मसान्तसम्म तिरेमा चालु आर्थिक वर्षको कर रकमको १० प्रतिशत छुट हुने सूचनामा उल्लेख छ।
यसैगरी महानगर क्षेत्रभित्र सञ्चालन भएका होटल, रिसोर्ट वा चलचित्र घरको नाममा घरजग्गा भई वा भाडामा लिएर होटल, रिसोर्ट वा चलचित्र घर निर्माण गरी सञ्चालन गरेको करदाताको हकमा बक्यौतासहितको सम्पत्ति कर सम्वत् २०८० पुस मसान्तभित्र चुक्ता गरेमा थप ३० प्रतिशत छुट सुविधा रहेको सूचनामार्फत जनाइएको छ ।
व्यावसायिकरुपमा गाडीको पार्किङ प्रयोजनका लागि भवन निर्माण गरेमा भवन निर्माण सम्पन्न भएको मितिले पार्किङ प्रयोग हुने क्षेत्रको १० वर्षसम्म सम्पत्ति कर छुट हुने जनाइएको छ । ‘एक वडा, एक नमूना उद्यम’ कार्यक्रमअन्तर्गत सञ्चालित उद्योग वा व्यवसायको दर्ता भएको तीन वर्षसम्म निजले तीर्न बुझाउनुपर्ने व्यवसाय कर र दर्ता शुल्कको कर ९५ प्रतिशत छुटको व्यवस्था छ ।
चालु आर्थिक वर्ष २०८०/८१ करको दायरामा नआएका जुनसुकै उमेरका महिला, जनजाति, दलित, अपाङ्गता भएका र ३५ वर्षभन्दा कम उमेरका युवाका नाममा दर्ता भई सञ्चालनमा रहेका रु पाँच लाखसम्म पुँजीगत लगानी भएका उद्योग, व्यवसाय, कम्पनी, संस्थाले २०८० पुस मसान्तभित्र कर दाखिला गरेमा जम्मा कर रकमको ४० प्रतिशत र नियमित कर दाखिला गर्ने करदाताका हकमा करको रकम २५ प्रतिशत छुट हुने जनाइएको छ तर यसमा काठमाडौं महानगरपालिकामा स्थायी बसोबास भएका व्यक्तिलाई करमा ५० प्रतिशत छुट हुने सूचनामा उल्लेख छ । |
ऐतिहासिक क्षेत्र उपरदाङगढीको जीर्णोद्धार सुरु भरतपुर। चितवनको ऐतिहासिक क्षेत्र उपरदाङगढीेको जीर्णोदार सुरु गरिएको छ। इच्छाकामना गाँउपालिकाले जिल्लाको पुरानो सदरमुकामसमेत रहेको उपरदाङगढीको भौतिक संरचना संरक्षणका लागि जीर्णोद्धार सुरु गरेको हो।
यहाँका संरचना संरक्षणको अभावमा जीर्ण बन्दै गएका थिए। पुरातत्व विभागसँगको समन्वयमा कोत घर, काठे पुल, ढोका र मन्दिरको जीर्णोदार गर्न सुरु गरिएको इच्छाकामना गाँउपालिकाका अध्यक्ष दानबहादुर गुरुङले बताए। उनले पुरातत्व विभागको डिजाइन र अनुगमनमा जीर्णोदारको काम भइरहेको जानकारी दिए।
“गढीको पुरानोस्वरुप बिग्रँदैन”, उनले भने, “जीर्णोद्धारपछि कोत घरलाई पुरानै अवस्थामा ल्याउँछौँ।” उनले गढी बाहिरको क्षेत्रमा खानेपानीको व्यवस्था, यात्रु प्रतीक्षालय र शौचालय निर्माण गर्न लागिएको बताए।
गाँउपालिकाको आन्तरिक स्रोतबाट जीर्णोदारको काम भइरहेको उल्लेख गर्दै अध्यक्ष गुरुङले गढीको विकासका लागि संघ र प्रदेश सरकारसँग पनि बजेट माग गरिएको बताए। उनले गढीको जीर्णोद्धारसँगै जग्गा संरक्षणको कामलाई पनि अघि बढाएको बताए। चितवन र समग्र देशको इतिहाससँग जोडिएको गढीलाई गाउँपालिकाले प्राथमिकतामा राखेर पर्यटकीय गन्तव्य बनाउन लागिएको छ।
गाउँपालिकाले यस वर्ष उक्त गढीेलगायत पर्यटकीय क्षेत्रको विकासका लागि बजेट विनियोजना गरेको छ। “उपरदाङगढीको विकासका लागि गाउँपालिकाको बजेट पर्याप्त छैैन”, अध्यक्ष गुरुङले भने, “प्रदेश र केन्द्र सरकारसँग बजेट मागेर यसको विकास गर्छौं ।”
पुरानो सदरमुकाम तथा नेपाल अङ्ग्रेज युद्धस्थल उपरदाङगढीसँगै इच्छाकामना मन्दिर, पाथिभरा, सिँराइचुली र जलवीरे झरनालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा अघि बढाइने उनले जानकारी दिए।
सडक सञ्जालले जोडिएपछि र पूर्वाधार निर्माण हुन थालेपछि यस ऐतिहासिक गढी घुम्न आउनेको सङ्ख्या बढेको छ। जिल्ला सदरमुकाम भरतपुरबाट झण्डै एक घण्टामा मोटरसाइकल र साना गाडीमा सहजरुपमा उपरदाङगढी पुगिन्छ। शक्तिखोर फिस्लिङ सडकका कारण पनि यहाँ घुम्न आउने बढेका हुन्।
स्थानीयवासी गणेशबहादुर थापाले पछिल्लो समय यहाँ घुम्न आउने पर्यटकको सङ्ख्या बढेको बताए। उनले दैनिक सयौँको सङ्ख्यामा यहाँ घुम्न, फोटो खिच्न र एतिहासिक गढीको जानकारी लिन आउने गरेको जानकारी दिए। यहाँ बस्नका लागि केही होमस्टे (घरबास) सञ्चालनमा छन्। उनका अनुसार गढीमा मासिक रु एक लाखको टिकट बिक्री भएको छ। गढीमा घुम्न आउनेबाट पालिकाले रु ५० शुल्क लिने गरेको छ।
इच्छाकामनासँग जोडिएको कालिका नगरपालिकाले पनि उपरदाङगढीसँग जोडेर पर्यटन पूर्वाधार निर्माणका गरिरहेको छ। नगरपालिकाका प्रमुख विनोद रेग्मीले उपरदाङगढीसम्म पुग्न सडक पूर्वाधार निर्माण भइसकेको भन्दै दुई पालिका जोडेर पर्यटकीय गतिविधिको विकास गर्ने गरी काम गरिरहेको बताए। चितवनका डाँडाकाँडामा पर्यटन प्रवद्र्धनको राम्रो सम्भावना भए पनि आवश्यक पूर्वाधारको अभावमा ओझेलमा परेको उनको भनाइ छ।
सन् १९६० को शुरुसम्म उपरदाङगढी चितवनको सदरमुकाम थियो। इतिहासमा उल्लेख गरिएअनुसार सन् १९७० सम्म सरकारी अड्डा यहीबाट सञ्चालन हुन्थ्यो। तल्कालीन बाइसे चौबिसे राज्य एकीकरणका साथै नेपाली भूमिको रक्षाका लागि अङ्ग्रेज फौजविरुद्ध युद्धका बेला सन् १८०० को सुरुतिर पृथ्वीनारायण शाहका नाति तथा बहादुर शाहका छोरा शत्रुभञ्जन शाहले उक्त गढी निर्माण गराएका थिए।
गढी वरपर कुँदिएका ढुंगाको पर्खाल छ। भित्र हतियार घर, कुँवा र दुईकोठे घर छन्। समुद्री सतहबाट एक हजार दुई सय ७५ मिटर उचाइमा रहेको उपरदाङगढीबाट सूर्योदय र सूर्यास्त सहजै अवलोकन गर्न सकिन्छ। स्थानीय बासिन्दाका अनुसार यहाँबाट अन्नपूर्ण, लाम्टाङ, इच्छाकामना, कालिका मन्दिर, देवघाट, गोरखा, तनहुँ र चितवनका ग्रामीण क्षेत्र सजिलै देखिन्छन्। यो रमणीय स्थानमा चेपाङ, मगर र गुरुङको पातलो बस्तीले घेरिएको छ । यी जातजातिको आफ्नै मौलिक परम्परा, संस्कृति र रीतिरिवाज छन्। – रासस |
पुल नबन्दा बारीमै कुहियो तरकारी बर्दिया। बर्दियाको गुलरिया नगरपालिका र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाट पुल बाढीले बगाएपछि आवतजावतका लागि सास्ती भएको छ। पुल बाढीले बगाएपछि आवतजावत गर्न जोखिम पूर्ण यात्रा गर्न स्थानीय बाध्य छन्।
बाढीले क्षतिग्रस्त बनाएको छ वर्ष बितिसक्दा पनि पुल पुनःनिर्माण नहुँदा वर्षौंदेखि सास्ती बेहोर्दै आएको बारबर्दिया नगरपालिका–११ का रामगोपाल थारुले बताए। “तरकारी फल्ने र बिक्री हुने यो मुख्य याम हो। बजारसम्म तरकारी पुर्याउन सकिएको छैन”, उनले भने। पुल नहुँदा तरकारी खेतबारीमै कुहिन थालेको छ।
अधिकांश गाउँमा बारीमा तरकारी लटरम्म फलेको छ। बिक्री हुने मुख्य गुलरीया हाटबजार हो। जाने बाटो नहुँदा बिक्री गर्न नसकेको बारबर्दिया–४ का फक्लबहादुर सत्गौलाले बताए।
रु १६ करोड ६८ लाखमा निर्मित जब्दीघाट पुल २०७४ साउनको अन्तिम साता बबई नदीमा आएको बाढीले क्षतिग्रस्त बनाएको थियो। जब्दीघाट पुल हस्तान्तरण नहुँदै भाँसिएको थियो। पछिल्लो समय उक्त पुल निर्माण गर्ने कम्पनीसँग क्षतिपूर्ति असुल गरी जब्दीघाटमा नयाँ पुल निर्माणका लागि बर्दिया क्षेत्र नम्बर १ का संघीय सांसद सञ्जयकुमार गौतमले पहल गर्दैआएका छन्।
नयाँ पुल निर्माणको माग राख्दै उनी भत्किएको पुलमुनि गत वैशाख ३० देखि जेठ ६ गतेसम्म आमरण अनसनमा बसेका थिए। सांसद गौतम र भौतिक तथा पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाबीच एक महिनाभित्र पुल निर्माण गर्ने सम्झौता भएपछि अनशन तोडिएको थियो। |
पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले हतुवागढीमा दिमालुङ स्मारक उद्यान निर्माण भोजपुर। पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले भोजपुरको हतुवागढी गाउँपालिकामा दिमालुङ स्मारक उद्यान निर्माण गरिएको छ। किरात संस्कृतिको संरक्षण गर्दै पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न गाउँपालिकाको योजना र प्रदेश सरकारको लगानीमा यहाँ स्मारक उद्यान निर्माण गरिएको हो।
किरात राईको आस्थाको केन्द्रको रुपमा रहेको वडा नं २ र ३ मा पर्ने सो स्थानमा कोशी प्रदेश सरकारको पर्यटन मन्त्रालय, भवन तथा सहरी विकास कार्यालय धनकुटाको रु दुई करोड आठ लाख र गाउँपालिकाको रु पाँच लाखको उद्यान निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिए। आर्थिक वर्ष २०७४/७५ मा निर्माण थालिएको गरिएको पार्कलाई पर्यटकीय क्षेत्रका रुपमा स्थापित गर्ने लक्ष्य रहेको उनको भनाइ छ।
“किरात संस्कृतिको संरक्षणसँगै यसलाई पर्यटनसँग जोडेका छौँ। यसबाट संस्कृतिको संरक्षणसँगै यहाँको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास छ”, अध्यक्ष राईले भने। यो ठाउँ गाउँपालिकाले निर्माण गरिरहेको जोर आहाल, शङ्खामचुली, दिमालुङ पदमार्गको अन्तिम विन्दुको रुपमा रहेको छ।
यो स्थानमा पर्यटकलाई लक्षित गरेर किरात संस्कृतिसँग जोडिएका विभिन्न संरचना निर्माण गरिका छन्। यहाँ रहेको किरात राईको तिहास बोकेको विषेश खालको दिमालुङ ढुंगाको संरक्षण गर्दै उद्यान निर्माण गरिएको हो।
राई भाषामा ‘दिमा’ भनेको बोजु र ‘लुङ’ भनेको ढुंगा हो। त्यसैले उद्यानको नाम दिमालुङ राखिएको हो। किरात समुदायले वर्षमा दुई पटक यस क्षेत्रमा साकेन्वा नाच्ने र पुज्ने गरेका छन्। दिमालुङ उद्यानको आवश्यक व्यवस्थापनका लागि प्रदेश सरकारको रु २५ लाख र गाउँपालिकाको रु सात लाखमा थप काम गर्ने योजना रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले जानकारी दिए। – रासस |
अविरल वर्षाका कारण पहिरो जाँदा मध्यपहाडी लोकमार्ग अवरुद्ध ढोरपाटन। केही दिनदेखि परेको अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ। राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत निसीखोला–रुकुमकोट खण्ड अवरुद्ध बनेको हो।
लोकमार्गको निसीखोला गाउँपालिका–४ र ५ को सिमाना धरमशाला तथा कालापैरा–२ को खाडुखोलामा बाढी आउँदा लोकमार्ग अवरुद्ध भएको हो। गए रातीदेखि अवरुद्ध भएको लोकमार्ग अहिलेसम्म खुलाउन नसकिएको निसीखोला–४ का वडाध्यक्ष टीकानिधी पौडेलले जानकारी दिए।
वर्षा हुने बित्तिकै लेदो झर्ने र सडकमा थुप्रिँदा यातायात अवरुद्ध हुने गरेको पौडेलले बताए। सडक अवरुद्ध हुँदा रुकुम पूर्वदेखि काठामाडौँ, पोखरालगायत ठाउँ जाने यातायातका साधान कालापैरामा ठप्प छन्। बुर्तिबाङदेखि निसी, भल्कोट हुँदै पूर्वी रुकुम र रोल्पा पुग्ने साना ताथा ठूला यातायातका साधान कानाबगरमा रोकिएका अध्यक्ष पौडेलले बताए।
निरन्तर वर्षाका कारण लोकमार्गको विभिन्न ठाउँमा पहिरो जाने र रुख ढल्दा ठाउँ–ठाउँमा सडक अवरुद्ध भइरहेको छ। खाडु र कालापैरामा माथिदेखि भलसहितको ठूलो बाढी आँदा लोकमार्ग पूरै ढाकिएको छ। गाडी ठप्प छन्। वर्षाका कारण निसीखोलाका सबै ग्रामीण सडक अवरुद्ध छन्। ग्रामीण सडकदेखि झरेको पहिराले मुख्य सडकको धेरै ठाउँमा क्षति पुर्याएको छ। |
व्यापारीले बेच्छन् साल्ट ट्रेडिङको नुन बझाङ। बुधबार बिहानै खप्तडछान्ना गाउँपालिकाका राजेश कार्की हातमा एक पाकेट नुन बोकेर हिँड्दै गरेको भेटिए।
उनको हातमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले सहुलियतमा वितरण गरेको भानु नुन थियो। बजारमा कार्कीलाई चिनजानका सर्वसाधारणले बिहानै नुन कता पाइयो भनेर प्रश्नसमेत गरिरहेका थिए। कार्कीको जवाफ थियो, “पसल खुला हुनुपर्छ, जता पनि पाइन्छ।”
कार्की सदरमुकाम चैनपुर बस्न थालेको पाँच वर्ष भइसक्यो। एअरपोर्टमा बस्दाबाहेक बीच बजारमा सरेपछि उनले हरेक पटक नुन विभिन्न पसलहरूबाट किन्दै आएका छन्। पसलबाट किनिएको नुन भने कताबाट आएको हो भन्ने उनलाई जानकारी छैन। “नुन सकिएपछि जुन पसल खुला हुन्छ, त्यो पसलमा जान्छु। नुन मागेपछि पाइहाल्छु”, उनी भन्छन्।
सुर्माकी रमा बोहरालाई पनि चैनपुरमा नुन किन्न कहिल्यै समस्या परेन। बजारमा जानेबित्तिकै नुन पाइरहेको उनले सुनाए। “म आएको डेढ वर्ष हुन लागिसक्यो”, उनले भनिन्, “सबै मान्छे नुनै पाइँदैन भन्छन्। मलाई भने अहिलेसम्म कहिल्यै समस्या परेन। पैसा भए सुनसमेत पाउने ठाउँमा नुन पाइँदैन भन्नु अचम्मको कुरा हो।”
बजारमा आफूले चाहेमा जति पनि नुन किन्न सक्ने उनले बताइन्। “मैले गत साता मात्रै एउटा पसलबाट १५ पाकेट नुन किनेर गाउँ पठाएकी थिएँ।” गाउँमा पशुलाई समेत पाकेटकै नुन खुवाउने गरेको उनले सुनाइन्।
राजेश र रमा जस्तै पसलेका ग्राहक हुनुहुन्छ दुर्गाथली गाउँपालिका जुजीका हेमराज जोशी। जोशीलाई पनि बझाङमा नुन संकट भएको भन्ने अचम्म लाग्छ।
“हिजो मात्रै मैले मन्दिर नजिकैको पसलबाट एक पाकेट नुन ल्याएको हुँ । कसरी संकट भयो?” धेरै किन्नु नपर्ने तर, कहिलेकाहीँ एक/दुई पाकेट जता पनि पाइने हुँदा समस्या नपरेको उनले बताए। जोशीले भने, “पैसा भए सुन त सजिलै पाउँछ भने नुन किन नपाउनु!”
बझाङमा नुन विक्रीका लागि आधिकारिक विक्रेता भनेको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड हो। साल्ट ट्रेडिङको डिपोबाहेक कसैले पनि नुन बेच्न पाउँदैन।
तर, राजेश, रमा, हेमराज जस्तै सयौँ ग्राहक भने साल्ट ट्रेडिङको नुन बेच्ने पसलेबाटै कारोबार गरिरहेका छन्। साल्ट ट्रेडिङ कर्पोरेशनको डिपोबाट प्रति पाकेट नौ रुपैयाँमा किनेर व्यापारीले १५ देखि २० रुपैयाँमा बेच्दै आएका छन्।
व्यापारीले साल्ट ट्रेडिङकै नुन बिक्री गरिरहेको जानकारी पाएपछि राससको टिम ग्राहक बनेर जाँदा एक पसलले १५ रुपैयाँमा एक पाकेट ‘भानु” नुन थमाए।
साल्ट ट्रेडिङको नुन किन बेचेको भन्ने प्रश्नमा भने उनी नाजवाफ भए। उनले आत्तिँदै भने, “ग्राहक नुनका लागि आउनुहुन्छ। उहाँहरूलाई समस्या नहोस् भनेर आफूलाई खानका लागि ल्याएको केही पाकेट नुन पसलमा राखेको हुँ।” उनले आफूले मात्रै नभई बजारमा धेरैले बिक्री गर्ने गरेको बताए।
चैनपुरका केही पसलहरूमा निर्धक्कसँग साल्ट ट्रेडिङको नुन बिक्री भइरहेको छ। डिपोबाट कट्टाका हिसाबले नुन ल्याउने र महँगोमा व्यापारीले विक्री गर्ने गरेको खप्तडछान्ना-६ का महेश थापा बताउँछन्।
“व्यापारीले बर्खा नलाग्दै क्विन्टलका हिसाबले डिपोबाट नुन उठाए। अहिले डिपोमा नुन घट्यो, किन्नेको चाप बढ्यो। यता व्यापारीहरू लुकिछुपी बेच्न थाले।” यसरी अवैधानिकरूपमा किनबेच गर्नेलाई सरोकारवालाले अनुगमन गरेर कारबाही गर्नुपर्ने उनले बताए।
डिपोमा पाँच केजी पाउन घण्टौँ लाइन
मष्टा गाउँपालिका–१ की सरूदेवी विक आइतबार नुन किन्न डिपोको लाइनमा थिइन्। बिहानैदेखि लाइनमा बसेकी विकले तीन घण्टापछि पाँच पाकेट मात्रै नुन पाइन्।
“सहुलियतको नुन लिन बिहानै देउरानी, जेठानी चैनपुर आयौँ”, उनले भनिन्, “यता पाँच केजी नुन मात्रै पाइयो। अब यो कतिसम्म चल्छ होला र!” पाँच पाकेट नुनकै लागि धेरै खर्च गर्नुपरेको उनले बताइन्।
गाउँमा वर्षायामका बेला नुनको संकट नहोस् भनेर डिपोमा आएको मष्टाकै सुमी विकले बताइन्। “एक दुई पोका नुन त थियो । तर, नुनको संकट भएको भनेर सुन्यौँ। बर्खामा चैनपुर आइरहन सकिँदैन। त्यसैले मौसम पनि ठीकै, आइतबार पानी परेको हुँदा नुन लिन आएकी हुँ। यता एक ज्यानको पाँच पोका मात्रै पाइँदो रहेछ”, सुमीले भनिन्।
नुन वितरणमा दुरूपयोग हुने गरेको गुनासो आएपछि गत महिनायता चैनपुर डिपोले आइतबार मात्रै बिक्री वितरण गर्दै आएको छ। डिपोले जनसङ्ख्याको तुलना गरेर औसतमा एक परिवारलाई पाँच केजी नुन वितरण गर्दै आएको हो।
“नुन लिन आउने सबैलाई पुर्याउनका लागि एक जनालाई पाँच केजी दिएका हौँ”, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड डिपो कार्यालय प्रमुख नरबहादुर भाटले भने, “ग्राहकले मागेअनुसारको नुन दिएमा अरूलाई नपुग्ने देखियो। त्यसैले प्रत्येकलाई पाँच केजी दिने निर्णय गरेका हौँ।”
अब यो संकट यसै साताबाट टर्ने उनले बताए। भाटका अनुसार नुन थपका लागि माग गरिएको र नयाँ लटको नुन पनि आउने बेला भएको हुँदा दोस्रो साताबाटै नुन वितरण सहज हुने उनले बताए।
चैनपुर डिपोमा सरकारले गएको आर्थिक वर्षमा तीन हजार पाँच सय क्विन्टल नुन उपलब्ध गराएको थियो। यसपटक थलारा र बुंगलसहितका डिपो थपिएपछि चालु आर्थिक वर्षका लागि जिल्लाभर १४ हजार दुई सय क्विन्टल नुनका लागि सिफारिस गरेको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताए।
“चैतको अन्तिमतिरै साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड प्रदेश कार्यालय धनगढीमा आयोडिनयुक्त नुनको माग गरिसकेका छौँ”, उनले भने।
प्रजिअ पाण्डेयका अनुसार चालु आवका लागि चैनपुर डिपोमा सात हजार, बागथला पाँच हजार, तलकोट एक हजार पाँच सय र साइपाल बिक्री केन्द्रका लागि सात सय क्विन्टल आवश्यक पर्ने प्रारम्भिक अनुमानअनुसार माग गरिएको हो।
“अहिले पनि नुनको संकट भने होइन”, उनले भने, “आवश्यकताअनुसार नुन वितरण भइरहेकै छ । संकट भएको हल्ला मात्रै हो।” केही कम हुन सक्छ कि भनेर प्रतिव्यक्ति पाँच पाकेट वितरण गरिरहेको उनले बताए। “अब नयाँ सिजन पनि सुरू भइसक्यो । सायद अर्को साता नै प्रतिव्यक्ति १० पाकेट वितरण गर्ने तयारी गरेका छौँ”, उनले भने।
बजारमा नुन बिक्री भइरहेको विषयमा भने अब लगत्तै बजार अनुगमन गरिने उनले बताए। “यो गुनासो सुनिरहेका छौँ”, उनले भने, “बजारमा कसैले नुन बेचेको खबर हामीलाई गरे तत्काल कारबाही हुन्थ्यो। धेरैलाई खबर गर्न आग्रह पनि गरेका छौं। आधिकारिक जानकारी कसैले दिएको छैन । अब कसैलाई ग्राहक बनाएर पठाउने र गडबड भए कडा कारबाही गरिनेछ”, उनले भने। |
रसुवागढी नाकामा चहलपहल बढ्यो रसुवा। चीनसित जोडिएको उत्तरी नाका रसुवागढीमा पछिल्लो समय चहलपहल बढ्दै गएको छ। कोरोना महामारीपश्चात् आवतजावत बन्द भएको सो नाका गत चैत १८ गतेदेखि पुनःसञ्चालनमा आएपछि व्यापार तथा पर्यटकीय गतिविधि बढेको हो।
सो नाका भएर नेपाल घुम्नका लागि चिनियाँ पर्यटकको आगमन सुरू भएको छ। नेपाल भित्रने चिनियाँ पर्यटकको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ। नाका पुनःसञ्चालन पछि पाँच/सात जनादेखि सुरू भएको पर्यटक आवागमन पछिल्लो समय दैनिक सरदरमा २५/३० जना पुगेको छ।
अध्यागमन कार्यालय टिमुरेका कार्यालय प्रमुख चूडामणि अर्यालका अनुसार चैत १८ गतेदेखि असार मसान्तसम्म दुई हजार आठ सय ३७ चिनियाँ पर्यटकले रसुवागढी मितेरीपुलबाट ओहरदोहर गरिसकेका र साउन महिनामा पनि आफ्ना निजी सवारीसाधनमार्फत चिनियाँ पर्यटक नेपाल भ्रमणमा आउनेक्रम जारी रहेको छ।
तीन महिना १३ दिनको अवधिमा रसुवागढी नाकाबाट ४६ देशका नागरिकले नेपाल तथा चीनको भूभागमा ओहरदोहर गरिसकेको यसरी ओहरदोहर गर्नेको कूल सङ्ख्या पाँच हजार दुई सय ३६ महिलासमेत १० हजार छ सय ७७ जना रहेको बताइएको छ।
कोरोना अवधिभर सुनसान रहेको रसुवागढी क्षेत्रबाट चिनियाँ पर्यटक नेपाल भित्रने र अन्यदेशका पर्यटक चीनतर्फ प्रस्थान गर्न थालेपछि त्यस क्षेत्रको रौनकता निकै बढेको छ। पर्यटकको आगमनले सीमा क्षेत्रका बासिन्दामा भने उत्साह बढ्दै गएको छ।
रसुवागढी नाकाबाट रसुवाका बासिन्दा केरूङतर्फ जाने र चिनियाँ नागरिक पनि टिमुरे तथा स्याफ्रुबेँसी घुम्न आउने गरेका कारण दुई देशको सीमा क्षेत्रमा बसोबास गर्ने छिमेकी छिमेकी बीचको सम्बन्धसमेत थप प्रगाढ बन्दै गएको स्थानीय बासिन्दाले जनाएका छन्।
सीमा क्षेत्रका बासिन्दाका लागि रसुवा-केरूङ ओहरदोहर गर्न प्रदान गरेको सीमा परिचयपत्रको विवरणसमेत सार्वजनिक भएको छ। गैररसुवालीलाई सीमा क्षेत्रका बासिन्दासरहको परिचयपत्र दिएको भनी स्थानीयबाट चर्काे विरोध आएपछि वास्तविकतामाथि प्रष्ट पार्दै अध्यागमन कार्यालय टिमुरेले एक सय ५० जनालाई परिचयपत्र प्रदान भएको राससलाई पहिलो विवरण उपलब्ध गराएको हो।
बसाइँ सरी आएको कागजाँचका आधारमा गत चैत १८ गतेदेखि असारको पहिलो हप्तासम्म ४१ वटा नयाँ परिचयपत्र जारी भएको, ३३ जनालाई प्रतिलिपि प्रदान गर्नुका साथै ७६ वटा नवीकरण भएको अध्यागमन कार्यालयले जनाएको छ।
विसं २०७२ पश्चात् भेटिएको तथ्यांकअनुसार हालसम्म नयाँ जारी, प्रतिलिपि एवं नवीकरण गरिएकोसमेत समग्रमा तीन हजार तीन सय ३३ जनाले सीमा परिचयपत्रको सुविधा लिएको उक्त कार्यालयले जनाएको छ।
भूकम्पकाले रसुवागढीमा रहेको अध्यागन कार्यालय पूरै दबिएका कारण त्यसभन्दा अगाडिका अभिलेख नष्ट भइसकेको जनाइएको छ। रसुवागढी क्षेत्रमा सवारीसाधनको चाप र पर्यटकको आगमन बढेसँगै सुरक्षा कार्यमा थप मजबुत पारिएको सुरक्षाकर्मीले बताएका छन्। रासस |
चोभार बन्दरगाह पाँच वर्षका लागि निजी क्षेत्रलाई दिइने काठमाडौं । सरकारले चोभार सुक्खा बन्दरगाह सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने भएको छ । बन्दरगाह सञ्चालनको जिम्मा पाएको इन्टरमोडल यातायात विकास समितिले पाँच वर्षका लागि बन्दरगाह सञ्चालनको जिम्मा लगाउन लागेको हो ।
त्यसका लागि समितिले सोमबार ४५ दिनको समय राखेर अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ । सोमबार सार्वजनिक गरिएको बोलपत्रको अन्तिम मिति २०८० को भदौ २२ गतेसम्म रहेको छ । पोर्ट मेनेजमेन्ट, कन्टेनर फ्रेट स्टेशन मेनेजमेन्ट, फ्रेन्ट टर्मिनल मेनेजमेन्ट, वयरहाउस, ट्रान्सपोटेसन, क्लियरिङ एण्ड फरवार्डिङ र फ्रेन्ट फरवार्डिङमा कम्तीमा पाँच वर्षको अनुभव भएका कम्पनीले उक्त बोलपत्रमा भाग लिने पाउने समितिले जनाएको छ ।
तीन वर्षको औसत वित्तीय करोबार कम्तीमा रु ६० लाख बराबरको हुनुपर्ने पनि प्रावधानसमेत राखिएको छ । समितिका कार्यकारी निर्देशन आशिष गजुरेलले कानुनअनुसार नै बन्दरगाह सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने तयारी गरिएको जानकारी दिए । कानुन तथा निजी क्षेत्रले सञ्चालन गर्दा बन्दरगाहले नाफा आर्जन गर्ने अपेक्षासहित जिम्मा दिन लागिएको उनको भनाइ छ ।
“हाम्रो यसअघिको अनुभवले नै सरकारलेभन्दा निजी क्षेत्रले सञ्चालन गर्दा नाफा भएका छन्, यसअघिका अनुभवअनुसार चोभार पनि निजी क्षेत्रलाई दिन लागेका हौँ”, उनले भने । सुक्खा बन्दरगाह र एकीकृत जाँच चौकी सञ्चालक कम्पनी छनोटका लागि समितिको छुट्टै टर्मिनल पट्टा बहालमा दिनेसम्बन्धी नियमावली, २०७० र नियमावलीअनुसार सञ्चालक कम्पनीको छनोट प्रस्तावदाताको प्रस्तावित प्राविधिक तथा आर्थिक प्रस्तावको संयुक्त मूल्याङ्कन विधिबाट गर्ने गरिएको छ ।
छनोट हुने कम्पनीको विज्ञता प्रयोग गरी चोभार सुक्खा बन्दरगाह सञ्चालन तथा व्यवस्थापन भएपछि पूर्ण क्षमतामा सञ्चालनमा आउने र व्यापार सहजीकरण चुस्त, छिटो छरितो र किफायती हुने विश्वास समितिले लिएको गजुरेलको भनाइ छ ।
उनका अनुसार हाल सञ्चालन रहेका छवटै बन्दरगाह निजी क्षेत्रले सञ्चालन गर्दै आएका छन् । गत आर्थिक वर्ष २०७९र८० मा मात्रै समितिले निजी क्षेत्रले बन्दरगाह सञ्चालन गरेर दिएको रकमबाट रु एक अर्ब २० करोड बराबरको आम्दानी गरेको छ । दुई सय २० रोपनीमा फैलिएको चोभार बन्दरगाह विश्व बैंकको रु एक अर्ब पाँच सय ६७ करोड ऋण सहयोगमा निर्माण गरिएको थियो । |
प्रहरी वरिष्ठ हवल्दार बिष्णु सिंह पक्राउ काठमाडौं । प्रहरी प्रभाग बुढानिलकण्ठमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार बिष्णु सिंह पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई अहिले साँझा पक्राउ गरेको हो कुख्रे खोलाको ढल सरसफाई तथा निकास गर्दा निस्कने वालुवा व्यवस्थापन कार्य सहजिकरण गर्न सेवग्राहीबाट १ लाख घुस लिईसकेको अवस्थामा उनलाई पक्राउ गरेको हो ।
अख्तियारका अनुसार टंगालबाट खटिएको टोलीले बुढानिलकण्ठ २, वासिकबाट उनलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ |
प्रहरी वरिष्ठ नायब निरीक्षक पौडेलको कुटपिटपछि हत्या गलकोट । प्रहरी वरिष्ठ नायब निरीक्षक उज्ज्वल पौडेलको कुटपिटपछि हत्या गरेको खुलेको छ ।
बागलुङको बडिगाड गाउँपालिका–६ स्थित आशा होटल एण्ड खाजा घरमा सोमबार राति मृत भेटिएका पौडेलको हत्या होटल सञ्चालक आशा कुँवर र उनका छोरा विनोद कुँवरले गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।
सामान्य विवादको क्रममा होटल सञ्चालक कुँवरका आमा छोराले पौडेलको टाउकोमा मुक्का प्रहार गरी छातीमा लात्तीले हानेर बेहोस भएपछि कपडाले घाँटी कसेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए ।
पौडेलको मृत्यु भएपछि उनले घाँटीमा लगाएको सुनको सिक्री निकाली भान्छा कोठाको दराजमा लुगाएको अवस्थामा फेला परेको प्रहरीले बताएको छ । प्रहरीले ५१ वर्षीय आशा र २० वर्षीय विनोदलाई मङ्गलबार घटनास्थलबाटै पक्राउ गरेको थियो । |
आठ हजार ८९६ थान हातहतियार नष्ट काठमाडौं । विभिन्न मिति र स्थानबाट कानुनबमोजिम जफत भएका, प्राप्त हुन आएका, बरामद भएका वा बेवारिसे झण्डै नौ हजार हातहतियार प्रहरीले नष्ट गरेको छ ।
भरुवा बन्दुक छ हजार ७४ थान, बाह्र बोर एक सय ७७ थान, विभिन्न प्रकारका पेस्तोल एक हजार ७६ थान, म्याग्नम दुई सय ३२ थान, एयर गन २९ थान, सर्ट गन दुई सय २९ थान, थ्रीनटथ्री राइफल छ सय २६ थान, रिभल्भर तीन सय ३४ थान, ग्यास गन १० थान, हर्नेट २५ थान र नाम नखुलेको ८४ थान गरी जम्मा आठ हजार आठ सय ९६ थान हातहतियार आज कानुनबमोजिम नष्ट गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रहरी अतिरिक्त महानिरीक्षकसमेतका प्रतिनिधि, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौँ, कोष तथा लेखा नियन्त्रण कार्यालय लैनचौर एवं स्थानीय प्रतिनिधि र बूढानीलकण्ठ नगरपालिका–११ का वडाध्यक्षलगायतको रोहबरमा नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपन परिसरमा नष्ट गरिएको हो ।
हातहतियार, खरखजाना एवं विष्फोटक पदार्थ व्यवस्थापन निर्देशिका, २०६९ को दफा ८९३० बमोजिम नष्ट गरिएको तथा फलामलाई पत्रु बनाई कानुनबमोजिम व्यवस्थापन एवं संरक्षणको लागि उक्त कार्यदलको जिम्मा लगाइएको प्रहरी प्रवक्ता कुवेर कडायतले बताए ।
उक्त हातहतियार दीर्घकालीन व्यवस्थापन गर्नको लागि हातहतियार, खरखजाना एवं विष्फोटक पदार्थ व्यवस्थापन निर्देशिका, २०६९ को दफा ५ बमोजिम गृह मन्त्रालय, शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाको २०८० जेठ १७ गतेको पत्रद्वारा नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रहरी अतिरिक्त महानिरीक्षक मीरा चौधरीको अध्यक्षतामा गठित प्राविधिक टोलीले जेठ २३ र असार २६ गतेको बैठकमा कानुनी प्रक्रियाअनुसार नष्ट गर्न सिफारिस गर्ने निर्णय गरेको थियो । |
राज्यसत्ताका जिम्मेवार व्यक्ति सामेल नभई सुन तस्कर हुन सक्दैन : चित्र बहादुर केसी काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी सुन प्रकरणमा राज्यसत्ताका जिम्मेवार व्यक्ति सामेल हुनसक्ने बताएका छन् ।
बुधबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै केसीले राज्यसत्ताका जिम्मेवार व्यक्ति सामेल नभई सुन प्रकरण जस्ता ठूला अपराध हुनै नसक्ने बताए ।
केसीले सुन प्रकरणमा भरियालाई मात्रै पक्राउ गरेर जनताको आखाँमा छारो हाल्न नपाईने भन्दै मूल अपराधीलाई समातेर नेपाली जनतालाई देखाउन सक्नुपर्ने धारणा राखे । चीन , भारत र नेपालका अपराधीहरु मिलेर नेपाललाई तस्करको ट्रान्जीट प्वाइन्ट बनाइएकाले यसमा सरकारले गम्भीर भएर छानविन गर्नुपर्ने उनले बताए ।
अध्यक्ष केसीले सुन प्रकरणमा निष्पक्ष छानविन हुनुपर्ने र कोहि दोषीले पनि उन्मुक्ति पाउन नहुने उल्लेख गरे । |
कर्णाली नदीमा डुबेर एक जना बेपत्ता धनगढी । कर्णाली नदीमा डुबेर एक जना बेपत्ता भएका छन्।
कैलालीको मोहन्याल गाउँपालिका–७ बडिगाउँ स्थित कर्णाली नदीमा डुबेर एक जना बेपत्ता भएका हुन्। नुहाउने क्रममा मोहन्याल गाउँपालिका–७ का ४५ वर्षीय कृष्णप्रसाद खनाल मंगलबार साँझ नदीमा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ।
बेपत्ता खनालको खोजतलास गर्नुका साथै आवश्यक अनुसन्धान समेत भइरहेको प्रहरीले बताएको छ। |
गण्डकी प्रदेशसभामा विषयगत समितिको नेतृत्वमा दलका आ-आफ्नै दाबी पोखरा। गण्डकी प्रदेशसभामा विषयगत समिति गठनका लागि दलहरु आन्तरिक छलफलमा जुटेका छन् । प्रदेशसभाका चार समितिको नेतृत्वमा दलहरुले आ–आफ्नै दाबी अघि सारेका छन् । प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले दुई समितिको सभापति आफूले पाउनुपर्ने माग गरिरहेको छ ।
सार्वजनिक लेखा समितिसहित दुई समितिको नेतृत्वमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले दाबी गरेको छ । सत्ता गठबन्धनको दोस्रो ठूलो घटक नेकपा (माओवादी केन्द्र)ले अर्थ तथा विकास समितिको सभापति आफूले पाउनुपर्ने जनाएको छ ।
नेपाली कांग्रेस गण्डकी प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानले प्रदेशसभाको सबैभन्दा ठूलो दलका हिसाबले समितिको सभापति लिनेमा कांग्रेसको दाबी स्वाभाविक भएको बताए।
“सार्वजनिक लेखा समिति प्रमुख प्रतिपक्षीले पाउने कुरा पक्का जस्तै छ, यो संसदीय प्रचलन पनि हो, बाँकी तीन समितिको नेतृत्व कांग्रेस र माओवादी मिलेर टुंगो लगाउँछौँ”, उनले भने।
नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले प्रदेशसभामा दलीय हैसियतअनुसार समितिको सभापति चयन हुनुपर्ने बताए।
“प्रदेशसभामा एमाले दोस्रो ठूलो दल हो, दुई समितिको सभापतिमा हाम्रो दाबी रहन्छ”, उनले भने, “समिति गठनलाई छिटो टङ्ग्याएर प्रदेशसभालाई थप गतिशील र प्रभावकारी बनाउनुपर्छ ।”
उनले अब सरकारले ल्याउने विधेयक विषयगत समितिमा छलफल भएपछि मात्र प्रदेशसभामा लैजानुपर्ने बताए। माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक कुसुम बुढाले समितिमा पठाउने सदस्यका विषयमा दलभित्र आन्तरिक गृहकार्य भइरहेको बताए। उनले अर्थ तथा विकास समितिमा माओवादीको दाबी रहेको जनाए।
प्रदेशसभा सचिवालयका प्रवक्ता प्रेम सुवेदीले प्रदेशसभा बैठकले पारित गरेको प्रदेशसभा नियमावली सभामुखबाट प्रमाणीकरण भएपछि समिति गठनको प्रक्रिया अगाडि बढ्ने बताए।
“एक÷दुई दिनभित्रैमा सभामुखज्यूबाट प्रदेशसभा नियमावली प्रमाणीकरण हुन्छ, त्यसपछि सभामुखज्यूले समिति गठनको प्रस्ताव गर्नुहुन्छ”, उनले भने, “अहिले सदन स्थगित छ, अबको बैठकमा समितिको विषयले प्रवेश पाउँछ, अब विषयगत समिति गठनमा ढिलाइ हुँदैन ।”
प्रदेशसभा नियमावली समयमा नबन्दा दोस्रो कार्यकाल सुरु भएको सात महिनापछि बल्ल विषयगत समिति गठन हुन लागेको हो । ‘मिनी ससंद्’ले चिनिने विषयगत समिति गठनमा ढिलाइ हुँदा सरकारले ल्याउने विधयक दोहोरो बहस र छलफलबिनै सोझै प्रदेशसभा बैठकबाट पारित हुँदै आएको थियो । प्रदेशसभा सदस्यहरु नै कानुन निर्माणका अभ्यासमा भाग लिन पाएका थिएनन् ।
प्रदेशसभा नियमावलीमा रहेको प्रावधानअनुसार विषयगत समितिको गठन प्रक्रिया अगाडि बढ्ने प्रवक्ता सुवेदीले बताए।
“सभामुखज्यूले समितिका सदस्यको सङ्ख्या तोक्नुहुन्छ, अनि दलहरुबाट समितिमा बस्ने सदस्यहरुको नाम माग्नुहुन्छ”, उनले भने, “गठन भएको समितिले नै पछि सभापति चयन गर्छ, पहिलो बैठक ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्छ ।”
सरकार फेरबदललगायत राजनीतिक घटनाक्रमले प्रदेशसभा नियमावली मस्यौदा समितिको काम प्रभावित हुँदा विषयगत समिति गठन पनि पछाडि धकेलिँदै आएको थियो । नियमावलीमा चार विषयगत समितिको व्यवस्था छ। पहिले रहेका विषयगत समितिका नाम र कार्यविभाजनमा हेरफेर गरिएको छ।
प्रदेशसभा अब अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, प्रदेश मामिला तथा कानुन समिति र सामाजिक विकास तथा कृषि समिति रहनेछ। पहिलेको विधायन समिति हटाइएको छ भने सामाजिक विकास तथा कृषि समिति नयाँ थप भएको हो।
विसं २०७४ को प्रदेशसभा नियमावलीमा व्यवस्था भएबमोजिम प्रदेशसभाको अघिल्लो कार्यकालमा विधायन, सार्वजनिक लेखा, अर्थ तथा विकास र प्रदेश मामिला गरी चारवटा विषयगत समिति क्रियाशील थिए।रासस |
खुल्ला चिडियाखाना ‘हाइकिङ’सँग जोडिँदै गण्डकी। सात तालको बगैँचा सहर लेखनाथमा रहेको खुल्ला चिडियाखाना(पचभैया प्राणि उद्यान केन्द्र)लाई हाइकिङमार्फत पर्यटनसँग जोड्ने प्रयास गरिएको छ।
स्वास्थ्य र पर्यटनका लागि हाइकिङ भन्ने नाराका साथ विगत तीन वर्षयता पोखरा र आसपासका विभिन्न पर्यटकीय गन्तव्यलाई हाइकिङमार्फत प्रवद्र्धन गर्दै आएको हाइकर्स क्लब नेपालले चिडियाखाना रहेको पचभैयादेखि रुपा गाउँपालिकाको हात्तीमैता भ्यू टावरसम्म एकदिने हाइकिङ स्थलका रुपमा अघि बढाउन खोजेको हो।
क्लबले हाइकिङमार्फत खुल्ला चिडियाखानालाई जोड्ने लक्ष्यका साथ आफ्नै ३६औं शृङ्खला उक्त क्षेत्रमा सम्पन्न गरिसकेको संयोजक कृष्ण रानाभाटले जानकारी दिए।
प्रत्येक महिनाको अन्तिम शनिबार गर्दै आइएको हाइकिङको पछिल्लो शृङ्खला पचभैयास्थित खुल्ला चिडियाखाना हुँदै रुपा गाउँपालिकाको हात्तीमैतासम्म पुगी सम्पन्न गरिएको थियो। यो स्थल एकदिने हाइकिङका लागि उपयुक्त गन्तव्य रहेको उनले बताए। पचभैयाबाट सुरु हुने हाइकिङ रुपाताल, झोलुंगे, भंगरा, जनकुना, रुपाकोट रिपोर्ट हुँदै हात्तीमैता भ्यू टावरमा पुग्न करिब तीन घण्टा लाग्छ।
“हाइकिङमा आउने पर्यटकले खुल्ला चिडियाखानाको अवलोकन गर्दै आफ्नो यात्रा सुरु गर्नेछन्। हाइकिङका क्रममा अन्नपूर्ण, धवलागिरि लगायतका हिम शृङ्खला, मनोरम पहाडी दृश्य एवम् लेखनाथका रुपा, बेगनाससहित पोखराको फेवाताल लगायतलाई एकसाथ नियाल्दै हिँड्न पाइनु यहाँको विशेषता हो”, उनले भने। हाइकिङ सुरु हुनेस्थल खुला चिडियाखाना यहाँको महत्वपूर्ण दर्शनीय स्थल रहेको संयोजक रानाभाटको भनाइ छ।
बृहत् पोखराको अवधारणाअनुसार यहाँको नयाँ पर्यटकीय आकर्षणका रुपमा साबिक लेखनाथ नगरपालिकाका वडा नं ११, १२, र १४ मा रहेका पचभैया, चैनपुर र चापापानी चिसाकुना सामुदायिक वनलाई समेटेर खुल्ला चिडियाखनाका रुपमा पोखरा प्राणि उद्यान केन्द्र निर्माण गरिएको पचभैया सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष एवम् पचभैया प्राणी उद्यान केन्द्र व्यवस्थापन समितिका अध्यक्ष दीनानाथ ढकालले बताए।
चिडियाखाना निर्माणका लागि स्थानीयवासीको चाहना र युनाइटेड क्लबको सहयोगमा यहाँको एक सय ३४ हेक्टर क्षेत्रफललाई समेटेर पूर्वाधार विकासका कार्यक्रम अघि बढाइएको थियो। चिडियाखानाको व्यवस्थापन लगायतका विषयमा केही समय युनाइटेड क्लब र स्थानीयवासीबीच विवाद भए पनि उक्त विवाद समाधान भइसकेको छ। युनाइटेड क्लबले प्रत्येक वर्ष गर्दै आएको पोखरा महोत्सवको आम्दानीको २० प्रतिशत रकम यही चिडियाखाना निर्माणकै लागि छुट्याउँदै आएको छ।
चिडियाखानामा सर्वसाधारणलाई अवलोकनका लागि जालीको डोम निर्माण गरी जनावर र पक्षीहरू खुल्ला छाडिएको छ। चिडियाखानामा वन्यजन्तु प्रदर्शन, संरक्षण शिक्षालाई समावेश गरिनाका साथै भविष्यमा विश्वभरको हावापानीमा पाइने पक्षी तथा जनावर कक्ष बनाउने दीर्घकालीन लक्ष्यसमेत राखिएको छ।
चिडियाखाना परिसर एवम् रुपाताल क्षेत्रमा चार सय ५० प्रजातिका जीवजन्तु तथा तीन सय ६१ प्रजातिका वनस्पति, एक सय ७५ प्रजातिका जडीबुटी पाइन्छन्। त्यस्तै रुपातालमा २४ प्रजातिका माछाका साथै विभिन्न ३६ प्रजातिका चराका साथै जंगल क्षेत्रमा बाघ, मृग, अजिंगरजस्ता जनावर पाइन्छ।
पोखराबाट जम्मा २५ किमी टाढा रहेको यस चिडियाखानालाई गण्डकी प्रदेशकै महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने सोच राखिएको पचभैया सामुदायिक वन उपभोक्ता समूहका पूर्वअध्यक्ष मोहनबहादुर घिमिरेले बताए।
यसअघि २०३४/३५ सालतिर यस क्षेत्रमा जंगल ध्वस्त बन्दै गएको अवस्थालाई दृष्टिगत गरी स्थानीयवासीले तत्कालीन समयदेखि नै यसको संरक्षण सुरु गरेका थिए। संरक्षण थालिएको झन्डै ४५ वर्षपछि खुल्ला चिडियाखानाका रुपमा केन्द्र सञ्चालनमा आउनुले आफूहरू गौरवान्वित बनेको उनले बताए।
चिडियाखानामा हाल विभिन्न २१ प्रजातिका वन्यजन्तु तथा चराचुरुंगी राखिएको अध्यक्ष ढकालले जानकारी दिए। यहाँ आउने पर्यटकले चितुवा, नीलगाई, चित्तल, रतुवा मृग, चरी बाघ, अजिंगर, सेतो गिद्ध, हिमाली गिद्ध, कछुवा आदिको अवलोकन गर्न पाउँछन्। चिडियाखाना सर्वसाधत्रारणलाई अवलोकनका लागि खुल्ला गरिसकिएको छ। अवलोकनका लागि सर्वसाधारणलाई २५ रुपैयाँ र विद्यार्थीका लागि १५ रुपैयाँको टिकट व्यवस्था गरिएको छ।
चिडियाखानाको डिभिजन वन कार्यालयबाट व्यवस्थापन हुँदै आएको कार्यालय प्रमुख केदार बरालले जानकारी दिए। अघिल्लो वर्षमा चिडियाखानका लागि भौतिक पूर्वाधारतर्फ ४० लाख रुपैयाँ विनियोजन भएको जानकारी दिँदै उनले अन्य व्यवस्थापनतर्फ १८ लाख २५ हजार रुपैयाँ विनियोजन भएको बताए। त्यहाँ राखिएका पशुपन्छीको आहाराका लागि १४ लाख ६० हजार रुपैयाँ विनियोजन भएको उनले बताए। चिडियाखानाको व्यवस्थापनका लागि चारजना कर्मचारी खटाइएको बरालले बताए।
पचभैयाबाट रुपाकोट हात्तीमैतासम्म एकदिने हाइकिङका लागि उपयुक्त रहेको ध्रुवतारा युवा क्लबका अध्यक्ष त्रिविक्रम केसी बताउँछन्। हाइकिङमार्फत हात्तीमैतासम्म आउने पर्यटकलाई लक्षित गरी हात्तीमैता भ्यू टावर रिसोर्ट सञ्चालनमा आइसकेको छ।
“हामी पचभैयाको चिडियाखानादेखि हात्तीमैतासम्मको हाइकिङ मार्गलाई प्रवद्र्धन गर्न चाहन्छौँ”, उनले भने, “छोटो दूरीको हाइकिङका क्रममा चिडियाखानामा विभिन्न वन्यजन्तुको अवलोनसँगै हिमाल, पहाड, तालतलैया आदिको एकसाथ हेर्न पाउने यहाँको विशिष्टता प्रचारप्रसारको पर्खाइमा छ।” |
बन्दीपुरका १७ पर्यटकीय गन्तव्यको सूची सात भाषामा दमौली। तनहुँको पर्यटकीय नगरी बन्दीपुर गाउँपालिकाले १७ पर्यटकीय गन्तव्यको सूची सात भाषामा तयार गरेको छ। गाउँपालिका र मदानी मिडिया प्रालिको सहकार्यमा उक्त सूचना सात भाषामा तयार गरिएको हो। ती सूचनाहरू अब गाउँपालिकाका विभिन्न स्थानमा ‘क्युआर स्क्यान’ गरी पढ्न तथा सुन्न सकिने भएको छ।
बन्दीपुर घुम्न आएका पर्यटकहरूलाई पर्यटकीय गन्तव्यसम्म सहज पहुँच स्थापना गर्ने उद्देश्यसहित सहकार्य गरिएको बन्दीपुर गाउँपालिकाका प्रमुख सुरेन्द्र थापाले जानकारी दिए। मदानी मिडियाका अध्यक्ष विष्णुकान्त घिमिरेले क्युआर कोडसहितको सुचना गाउँपालिका अध्यक्ष थापालाई आज हस्तान्तरण गरेका छन्।
गन्तव्यबारे जानकारीहरू नेपाली, अङ्ग्रेजी, चाइनिज, जापानिज, कोरियन, फ्रेन्च लगायतका भाषामा तयार पारिएको छ। बन्दीपुरको थानीमाई मन्दिर, मणि मुकुन्देश्वरी पर्खाल (मिनी ग्रेटवाल), विन्ध्यवासिनी मन्दिर, पद्य पुस्तकालय, पातलेद्वार गुफा, पहाड पानी, सहिद स्मारक पार्क लगायतका १७ पर्यटकीय गन्तव्यको सूचना फरक फरक भाषामा तयार भएको अध्यक्ष थापाले बताए।
सूचना हस्तान्तरण भएसँगै अब बन्दीपुर गाउँपालिकाका ती पर्यटकीय गन्तव्यहरू मदानी मिडियाअन्तर्गतको ‘टुरिजमपाना डटकम’मा पढ्न/हेर्न तथा सुन्न सकिने भएको छ।
गाउँपालिकाका अध्यक्ष थापाले भने, “बन्दीपुरमा स्वदेशी तथा विदेशी पर्यटकको बाक्लो चहलपहल हुन्छ। विदेशी पर्यटकलाई पनि सहज होस् भनेर विभिन्न भाषामा सामग्री तयार गरिएको हो।”
बन्दीपुरमा विशेषगरी चीन, फ्रान्स, जर्मनबाट विदेशी पर्यटक आउने गरेका छन्। विदेशी पर्यटक यहाँको हावापानी, रहनसहन, रीतिरिवाज र पुरानो घर देखेर आकर्षित हुने गरेको व्यवसायी बताउँछन्।
सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ। जहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ। प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरि लगायतका हिमशृङ्खला देखिने भएकाले यहाँ पुग्ने जो कसैको मन लोभिने गर्दछ।
बन्दीपुरमा होटल सङ्घसँग आबद्ध सानाठूला गरी ७७ होटल सञ्चालनमा छन्। बन्दीपुरमा ग्रिनपार्क, होटल दरबार हिमालय फेवा, गामघर, बोल्डइन, बन्दीपुर माउन्टेन रिसोर्ट, बन्दीपुर प्यालेस, मगर भिजेललगायत होटल सञ्चालन छ।
भक्तपुरे शैलीमा निर्माण गरिएको घरहरु, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्र लगायतका स्थलहरु यहाँ आउने पर्यटकहरुको आकर्षणको केन्द्रबिन्दु बन्ने गरेको छ।
बन्दीपुरको पर्यटन प्रवद्र्धनका लागि गाउँपालिकाले पनि पहल गरिरहेको छ। बन्दीपुर आउने पर्यटकको बसाइ लम्ब्याउन विभिन्न पूर्वाधार निर्माण गरिएको छ। – रासस |
गैरकानूनी रुपमा क्लिनिक सञ्चालन गर्ने दुई सञ्चालक पक्राउ कैलाली। गैरकानूनी रुपमा क्लिनिक सञ्चालन गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा धनगढी उपमहानगरपालिका-३ बोराडाडीस्थित अर्जुन क्लिनिकका संचालक ४५ वर्षीय अर्जुन कुँवर र सोही उपमहानगरपालिका-७ देवरियास्थित अभिनव हेल्थ क्लिनिकका संचालक गौरीगंगा नगरपालिका-१० घर भएकी २१ वर्षीया कमला बोहरा रहेका छन्।
धनगढी क्षेत्रमा ईजाजत बिना मेडिकल, फार्मेसी तथा औषधि पसलहरु संचालन गरेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला जनस्वास्थ्य कार्यालय धनगढी कैलालीसँग समन्वय गरी जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा गैह्र कानूनी रूपमा क्लिनिक संचालन गरी औषधि बिक्री तथा चिकित्सा सेवा प्रदान गरेको खुल्न आएपछि उनीहरूलाई पक्राउ गरेको हो।
उनीहरुउपर मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत ईलाज सम्बन्धी कसूरमा जिल्ला अदालत कैलालीबाट म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको छ। |
सिन्धुलीका आठ पालिकामा अस्पताल निर्माण धमाधम, उपचार गर्न अन्यत्र धाउँदै स्थानीय सिन्धुली। स्वास्थ्य सेवा विस्तारका लागि सिन्धुलीको आठ पालिकामा आधारभूत अस्पतालका भवन निर्माण हुँदैछन्। संघीय सरकारले २०७७ मङ्सिरमा सुरु गरेको ‘एक स्थानीय तह, एक आधारभूत अस्पताल’ निर्माण योजनाअनुरुप भवन बनाउन लागिएको हो।
मरिण गाउँपालिका–७ महेश्वतामा १५ शय्याको अस्पताल भवन निर्माणका लागि मङ्गलबार शिलान्यास गरिएको छ। सांसद लेखनाथ दाहालले एक कार्यक्रमका बीच भवनको शिलान्यास गरे। आगामी आर्थिक वर्ष २०८१/८२ को मङ्सिरसम्ममा सक्ने गरी स्काइ विल्डर्स प्रालि नयाँबानेश्वर, काठमाडौँले भवन निर्माणको जिम्मा लिएको छ ।
निर्माण कम्पनीले २०७९ पुस २५ गते अस्पताल भवन निर्माण सम्झौता गरेको थियो । रु १६ करोड ७१ लाख ५८ हजारको लागतमा निर्माण हुने भवन तीन तलाको हुनेछ । उक्त लागत बजेट संघीय सरकारले उपलब्ध गराएको हो । चार हजार सात सय ४० दशमलव ८४ वर्गमिटर क्षेत्रफलमा अस्पताल निर्माण कार्य अगाडि बढेको गाउँपालिकाका अध्यक्ष विमर्श मुक्तानले बताए।
सात वडा रहेको मरिणमा छ सामुदायिक स्वास्थ्य एकाइ, दुई स्वास्थ्यचौकी, एक–एक प्रथामिक स्वास्थ्य केन्द्र र आयुर्वेदिक औषधालय छन् । मरिण–६ छापस्थित पाँच शय्याको अस्पताल भवनबाट १५ शय्याकै स्वास्थ्य सेवा कठिनपूर्वक प्रदान हुँदै आएको थियो । अब १५ शय्याकै अस्पताल भवन निर्माण हुने भएपछि मरिणवासीले स्वास्थ्य सेवा सहजरूपमा पाउने मरिण गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मधु लाखेले बताए।
यसैगरी जग्गा विवादका कारण दुई वर्षदेखि १५ शय्याको अस्पताल भवन निर्माणको काम रोकिएको सुनकोशी गाउँपालिकामा अहिले निर्माण प्रक्रिया अगाडि बढेको स्वास्थ्य शाखा प्रमुख ओमप्रकाश झाले जानकारी दिए। सात वडा रहेको सुनकोशीमा ११ स्वास्थ्य संस्था छन् । अब दुई सामुदायिक स्वास्थ्य एकाइ थप गर्नुका साथै १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न गरी सेवा विस्तार गरेर स्वास्थ्य सेवा प्रभावकारी बनाउन खोजिएको उनले बताए।
यसैगरी गोलञ्जोर गाउँपालिकामा पनि यस वर्ष आधारभूत अस्पताल निर्माणका लागि सङ्घीय सरकारबाट बजेट प्राप्त भएपछि कार्यपालिकाको बैठकपछि निर्माण प्रक्रिया अगाडि बढाइने स्वास्थ्य शाखा प्रमुख दीपेन्द्र पैकराले जानकारी दिए।
फिक्कल गाउँपालिका–३ चनौटेमा १० शय्याको अस्पताल भवन निर्माणाधीन छ । दुई वर्षअघि निर्माण सुरु भएको उक्त भवनको ८० प्रतिशत काम सकिएको स्वास्थ्य शाखा प्रमुख लेखनाथ फुँयालले बताए। निर्माणको काम सम्पन्न गर्न यस वर्ष रु ९० लाख बजेट थप भएर आएको उनले सुनाए।
६ वडा रहेको फिक्कलमा छ स्वास्थ्यचौकी र १० सामुदायिक स्वास्थ्य एकाइ छन् । हालसम्म उक्त गाउँपालिकामा दक्ष चिकित्सकसहितको अस्पताल नहुँदा बिरामीले भरपर्दो उपचारका लागि अन्यत्र धाउनु परिरहेको छ ।
यसैगरी हरिहरपुरगढी गाउँपालिका–२ रतनपुरमा १५ शय्याको आधारभूत अस्पताल निर्माणाधीन छ । सिर्नजी राजदेवी भक्त आरपी जेभीले निर्माणको जिम्मा लिएको छ । आठ वडा रहेको हरिहरपुरगढीमा चार स्वास्थ्यचौकी, पाँच सामुदायिक स्वास्थ्य एकाइ र चार आधारभूत केन्द्र छन् । यी नामका मात्रै स्वास्थ्य संस्था छन् । राम्रो उपचार गर्न बिरामीलाई अस्पताल खोज्दै अन्यत्र जानुपर्ने अवस्था छ । पालिकाले आफ्ना नागरिकलाई स्थानीयस्तरमै आधारभूत स्वास्थ्य सेवा दिन १५ शय्याको अस्पताल बनाउन सुरु गरेको छ।
दुधौली नगरपालिका–५ सिर्थौलीमा १५ शय्याको अस्पताल निर्माणाधीन छ। अस्पताल निर्माणकार्य अन्तिम चरणमा पुगेको स्वास्थ्य शाखा प्रमुख जगदीश मण्डलले बताए।
“अस्पताल भवन निर्माण पूरा गरेर अबको एक महिनाभित्र सञ्चालनमा ल्याउने योजना छ”, उनले भने। सङ्घीय सरकारको रु १६ करोड लागतमा अस्पताल निर्माण भइरहेको छ । यहाँ हाल १६ स्वास्थ्य संस्थामार्फत सेवा प्रदान गरिँदै आएको छ । तर भरपर्दो सेवा नहुँदा बिरामीले अन्यत्र धाउनुपर्ने बाध्यता छ ।
घ्याङलेख गाउँपालिका–३ सोलाभञ्याङमा डिपिआर भएको वर्ष दिन बितिसक्दा पनि अस्पताल भवन निर्माणको काम अगाडि बढ्न सकेको छैन । जग्गा विवादका कारण रोकिएको निर्माणकार्य चाँडै सुल्झाएर निर्माण अगाडि बढाइने पालिकाले जनाएको छ । पाँच वडा रहेको दुर्गम पालिकामा पाँच स्वास्थ्यचौकी र पाँच सामुदायिक स्वास्थ्य एकाइ छन् । पन्ध्र शय्याको अस्पताल निर्माण भएर प्रभावकारीरूपमा सञ्चालनमा आए सामान्य बिरामी हुँदा पनि सदरमुकाम धाउन नपर्ने स्थानीयवासी बताउँछन् ।
सिन्धुलीकै सबैभन्दा ठूलो सिन्धुली अस्पताल जिल्ला सदरमुकामसमेत रहेको कमलामाई नगरपालिकामा छ । यहाँ सात स्वस्थ्यचौकी र नौ आभारभूत स्वास्थ्य केन्द्र छन् । जिल्लामा सञ्चालनमा रहेकै अस्पताल तथा स्वास्थ्य संस्थाले पनि सहजरूपमा गुणस्तरीय सेवा दिन सकेका छैनन् । सामान्य बिरामी हुँदासमेत अन्य सहरका स्वास्थ्य संस्था तथा अस्पताल धाउनुपरेको स्थानीयवासीको गुनासो छ ।
सञ्चालनमा रहेका अस्पताल तथा स्वास्थ्य संस्था आवश्यकताअनुरुको बजेट, पर्याप्त दक्ष जनशक्ति तथा औषधि र उपकरणको अभावैअभावमा जेलिएका छन्। भवन बनाएर मात्र स्वास्थ्य सेवा उपलब्ध नहुने स्थानीयको गुनासो छ । |
एकीकृत जाँच चौकी : उद्घाटन भयो, सञ्चालनमा आएन जानकी। नेपाल–भारत सीमास्थित नेपालगन्जको एकीकृत जाँच चौकी (आइपिपी)को उद्घाटन भएको डेढ महिना वित्दा पनि सञ्चालनमा आउन सकेको छैन।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत जेठ २० गते भारतको राजधानी नयाँदिल्लीबाट एकीकृत जाँच चौकीको उद्घाटन गरेका थिए। उद्घाटनको बेला दुवै देशका मालबाहक गाडी वारपार पनि गराइएको थियो। उद्घाटन भएसँगै यहाँका उद्योगी, व्यापारीमात्र नभई सर्वसाधारणले खुसीयाली मनाएका थिए।
एकीकृत जाँच चौकी उद्घाटनपछि दुवै देशले आ–आफ्नो क्षेत्रमा औपचारिक कार्यक्रमसमेत गरेका थिए। तर उद्घाटनपछि उक्त एकीकृत जाँच चौकी सञ्चालनमा आउन सकेको छैन। निर्माण कम्पनीले सरकारलाई हस्तान्तरण नगर्दा सञ्चालनमा आउन नकसकेको भवन डिभिजन कार्यालय नेपालगन्जका प्रमुख विजयकेशर खनालले जानकारी दिए। भौतिक पूर्वाधार निर्माणको काम जारी रहेको उनको भनाइ छ।
“सहरी विकास मन्त्रालयअन्तर्गत बिजुली जडानको काम भइरहेको छ। अन्य संरचना निर्माण पनि पूरा नभएकाले निर्माण कम्पनीले सरकारलाई हस्तान्तरण गरेको छैन। हस्तान्तरण नहुँदा एकीकृत जाँच चौकी सञ्चालन हुन सकेको छैन”, प्रमुख खनालले भने, “कर्मचारीको व्यवस्थापन गर्न बाँकी नै छ । एकीकृत जाँच चौकी सञ्चालन अबको दुई महिनामा हुन्छ।”
एकीकृत जाँच चौकी निर्माण पूरा नभएकाले दुई देशका मालबाहक गाडी जमुनाहा नाका भएर आउजाउ गरिरहेको नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी भन्सार अधिकृत डिल्लुप्रसाद शर्माले बताए। उनका अनुसार भन्सार, क्वारेन्टिन, प्रशासनका कर्मचारी र सुरक्षाकर्मीको व्यवस्था भएपछि मात्र एकीकृत जाँच चौकी सञ्चालनमा आउनेछ।
नेपालतिर ८७ बिघामा फैलिएको एकीकृत जाँच चौकीमा पार्किङ, गोदाम, भन्सार, प्रशासनिक भवन, क्वारेन्टिन भवन, नेपाल इन्टरमोडल यातायात विकास समितिको कार्यालय, बैंक, भन्सार एजेन्ट, नापतौल, नेपाल प्रहरी र सशस्त्र प्रहरीका लागि पूर्वाधार निर्माण गर्नुपर्ने छ। अन्य संरचना निर्माण पूरा भए पनि अहिलेसम्म भन्सार, प्रशासनिक भवन, पशु क्वारेन्टिन, प्लान्ट क्वारेन्टिन, महिला प्रहरी ब्यारेक तथा आयात, निर्यात गोदामघर निर्माणको क्रममा छ।
एकीकृत जाँच चौकी निर्माणका लागि नेपाल सरकारले आर्थिक वर्ष २०६६/६७ मा रु नौ करोड ३९ लाख मुआब्जा दिएर जमिन अधिग्रहण गरेको थियो। सन् २०२१ फेब्रुअरीदेखि निर्माण थालिएको एकीकृत जाँच चौकी निर्माणमा भारत सरकारको रु दुई अर्ब ३५ करोड खर्च भएको भन्सार अधिकृत शर्माले बताए।
भारतले सन् २०२२ जुनमा निर्माण सक्ने गरी सम्झौता गरे पनि कोरोनाका कारण काम गर्न नसकेको भन्दै निर्माण कम्पनीले थप समय मागेको थियो। यसअघि नेपाल–भारत सीमानाकाअन्तर्गत वीरगन्ज, विराटनगर र भैरहवामा एकीकृत जाँच चौकी सञ्चालनमा आएको छ। – रासस |
बाढीले सडक बगाउँदा जनजीवन कष्टकर भोजपुर। राउते खोलाको बाढीले सडक बगाएपछि भोजपुरको पश्चिमी क्षेत्रका स्थानीयको जनजीवन कष्टकर बनेको छ। गत जेठ ३१ र असार ८ गते आएको बाढीले उक्त खोलासित जोडिएका छवटा सडक बगाएसँगै जनजीवन कष्टर बनेको हो।
बाढीले धेरै ठाउँमा सडक गहिरो बनाएर कटान गर्दा मर्मत गरेर सञ्चालनमा ल्याउनसमेत समस्या देखिएको टेम्केमैयुङ–९ का वडाध्यक्ष नभराज मांगपाहांगले जानकारी दिए। बाढीले ठूलो क्षति गरेकाले स्थानीय सरकारको पहुँचभन्दा बाहिर रहेको उनको भनाइ छ।
“राउते खोलाको बाढीले हाम्रो वडामा करोडौँको क्षति भएको छ”, वडाध्यक्ष मांगपाहांगले भने, “यो खोला भएर बनेका सबै सडक बगाएको अवस्था छ। सडक अवरोध हुँदा दैनिकी निकै कष्टकर बनेको छ । यहाँको क्षतिको विषयमा राज्यले ध्यान आवश्यक छ।”
बाढीले १६ वटा सिँचाइ कुलोसँगै एक झोलुंगे पुल बगाएको छ। यो खोलामा निर्माण भइरहेको पक्की पुलमा समेत क्षति पुर्याएको वडाध्यक्ष मांगपाहांगले बताए। टेम्केमैयुङ–९ लेखर्कमा बाढीले ठूलो क्षति गरेकाले राज्यले ध्यान दिन आवश्यक रहेको उनको भनाइ छ। जेठ ३१ गते राति आएको बाढीले एक इन्जिनियरको ज्यानसमेत गएको थियो।
“बाढीका कारण एक महिनादेखि यातायात सञ्चालनमा समस्या छ”, उनले भने, “खोलाले धेरै ठाउँमा कटान गरेकाले कतिपय बस्ती जोखिमा छन्। सिँचाइ कुलो बगाउँदा किसानलाई खेती गर्न समस्या रहेको छ। यस्तो अवस्था हुँदा पनि राज्यको खासै ध्यान पुगेको देखिँदैन।”
बाढीका कारण भोजपुर सदरमुकामबाट कोट पाँचधारे हुँदै छिमेकी जिल्ला खोटाङ जोड्ने यो सडक एक महिना बढी समयबाट अवरोध हुँदा जनजीवन कष्टकर बन्दै गएको स्थानीयवासी मानबहादुर सुनारले बताए। जनतामा ठूलो विपत्ति पर्दासमेत राज्यको ध्यान नगएको उनको भनाइ छ।
“बाढीले यति ठूलो क्षति पुर्याउँदा पनि राज्य ध्यानले नदिएको जस्तो देखिन्छ”, उनले भने, “बाढीले सडक बगाउँदा दैनिक उपभोग्य वस्तुको अभाव देखिएको छ। तत्काल पहिलाको सडक भएको स्थान मर्मत गर्न सकिने अवस्था छैन। वैकल्पिक मार्गको खोजी गरेर भए पनि यातायात सञ्चालनमा ल्याउन पहल हुन आवश्यक छ।”
विभिन्न ठाउँमा बाढीले क्षति गरेपछि स्थानीय जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको स्थानीय सन्तोष राईले बताए। छिमेकी जिल्ला खोटाङसँगै वडाका नागरिकलाई अस्पताल लैजान समस्या भएको उनको भनाइ छ। सडकका कारण अकालमा ज्यान गुमाउनुपर्ने अवस्था रहेको उनले बताए।
“बाढीले सडक बगाउँदा जिल्लाको पश्चिमी क्षेत्रको जनजीवन निकै कष्टर बनेको अवस्था छ”, उनले भने, “एक गाउँबाट अर्को गाउँमा जान नसक्ने अवस्था छ। बिरामीलाई अस्पताल पुर्याउन सकिने अवस्था छैन। उपचार नपाएर अकालमा ज्यान गुमाउनुपर्ने अवस्था छ।”
राउते खोलाको शिरमा डाँडापाखा रहेकाले वर्षा हुनासाथ आसपासको क्षेत्रमा धेरै जोखिम रहेको स्थानीयवासी टंक घिमिरेले बताए। असार ८ मा खोला थुनिएर बाढी बस्तीमा पस्दा स्थानीयको घरसँगै अन्नबालीमा क्षति पुर्याएको उनको भनाइ छ। बाढीले अहिले सडक भएको स्थान गहिराएर लगेकाले अर्को ठाउँबाट सडक विस्तार गर्न आवश्यक रहेको घिमिरेको भनाइ छ।
“यो खोलाको शिर निकै ठूलो छ”, उनले भने, “खोलो थुनिएर बाढी बस्तीमा पस्दा क्षति गरेको छ । माथिल्लो भेगको धेरै ठाउँमा पहिरो गएकाले जुनसुकै अवस्थामा बाढी बस्तीमा छिर्ने देखिन्छ । त्यही स्थानबाट सडक मर्मत गरेर सञ्चालनमा ल्याउन सक्ने अवस्था छैन । पहिला सर्भे भएको ठाउँबाट वैकल्पिक सडक विस्तार गर्न आवश्यक छ ।”
गाउँपालिकाले विपद् कोषबाट सडक सञ्चालनमा ल्याउन पहल गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्दीप न्यौपानेले जानकारी दिए। तत्काललाई सडक सञ्चालनका लागि काम भइरहेको भए पनि ठूलो क्षति भएकाले राज्यका अन्य निकायबाट बजेट माग गरेर दीर्घकालीनरूपमा सडक निर्माण गर्ने योजना रहेको उनको भनाइ छ।
“बाढीको कारण सो क्षेत्रको जनजीवन प्रभावित बनेको अवस्था छ”, प्रशासकीय अधिकृत न्यौपानेले भने, “स्थानीयको समस्यालाई ध्यानमा राखेर गाउँपालिकाको विपद् कोषबाट मर्मत गरेर सञ्चालनको तयारीमा जुटेका छौँ। धेरै ठाउँमा सडक बगाएको छ। गाउँपालिकाको बजेटले मात्र सबै ठाउँमा मर्मत गर्न असम्भव देखिएको छ। त्यसका लागि माथिल्लो निकायमा ध्यानकर्षण गराएका छौँ।”
बाढीको कारण समस्या परेका स्थानीयलाई तत्काल केही आवश्यक सहयोग गरिरहेको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले जानकारी दिनुभयो । पाइप वितरण गरेर खानेपानी तथा सिँचाइ कुलो सञ्चालनका लागि गाउँपालिकाले पहल गरिरहेको उहाँको भनाइ छ ।
“बाढीको कारण निकै ठूलो क्षति भएको छ”, उपाध्यक्ष राईले भने, “सडक सञ्चालन गर्नका लागि काम सुरु गरेका छौँ। धेरै ठूलो क्षति भएकाले गाउँपालिकाको बजेटले धान्ने अवस्था छैन। क्षतिको विवरण सङ्कलन गरेर प्रदेश र केन्द्र सरकारसँग आवश्यक बजेटका लागि माग गरेका छौँ। अन्य निकायसँग पनि गाउँपालिकाले आवश्यक सहयोग जुटाउनका लागि पहल गरिरहेको छ।” -रासस |
लम्पी स्कीनले गोरु मरेपछि ५० प्रतिशतमात्रै रोपाइँ खोटाङ । कूल १२ हजार आठ सय ९८ हेक्टर खेतमा धान खेती हुँदै आएको खोटाङमा हालसम्म छ हजार चार सय ४९ हेक्टर खेतमामात्र रोपाइँ सम्पन्न भएको छ । गत वर्षको साउन–२ गतेसम्ममा ७० प्रतिशत रोपाइँ सकिएको जिल्लामा यसपल्ट साउन पहिलो हप्ता बितिसक्दासमेत ५० प्रतिशत खेतमामात्रै रोपाइँ सकिएको पाइएको हो ।
गाई÷गोरुमा फैलिएको लम्पी स्कीनको महामारीसँगै बेलामा वर्षा नहुनु, यान्त्रीकरणमा सबै किसानको पहुँच नपुग्नेलगायतका कारण जिल्लामा अपेक्षित मात्रामा रोपाइँ हुन नसकेको कृषि ज्ञान केन्द्र खोटाङका सूचना अधिकारी एवं कृषि प्रसार अधिकृत सञ्जयकुमार पण्डितले जानकारी दिए । जिल्लामा यस वर्ष धान रोपाइँमा ढिलाइ भएसँगै उत्पादनमा गिरावट आउने सम्भावना देखिएको कृषि विज्ञले बताएका छन् ।
दश स्थानीय तह रहेको जिल्लामा सबैभन्दा बढी दिप्रुङ चुइचुम्मा गाउँपालिका र सबैभन्दा कम रावाबेँसी गाउँपालिकामा रोपाइँ सम्पन्न भएको पाइएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिकामा ७५ प्रतिशत र रावाबेँसी गाउँपालिकामा २५ प्रतिशत खेतमा मात्र रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र खोटाङले जनाएको छ ।
जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह (पन्ध्र वडा रहेको) दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ६० प्रतिशत, खोटेहाङ गाउँपालिकामा ६०, साकेला गाउँपालिकामा ५५, हलेसी तुवाचुङ नगरपालिकामा ५०, जन्तेढुङ्गा गाउँपालिकामा ५०, केपिलासगढी गाउँपालिकामा ४५, बराहपोखरी गाउँपालिकामा ४० प्रतिशत र ऐसेलुखर्क गाउँपालिकामा ४० प्रतिशत रोपाइँ सकिएको जनाइएको छ । रोपाइँ गर्ने समय बित्नै लागेपछि जिल्लामा पानीको स्रोत भएका ठाउँका किसानलाई हाल आ–आफ्नो खेतमा धान रोप्न भ्याइनभ्याइ भएको पाइएको छ ।
जिल्लामा कूल १४ हजार एक सय ५९ हेक्टर खेत भए पनि १२ हजार आठ सय ९८ हेक्टरमा मात्रै किसानले धान खेती लगाउने गरेको जनाइएको छ । विभिन्न आयोजनामार्फत सिञ्चित ११ हजार चार सय हेक्टर र आकाशे पानीको भरमा रोपाइँ हुने तीन हजार आठ सय दुई हेक्टर असिञ्चित जग्गामा धान रोपाइँ हुने गरेको जिल्ला कृषि ज्ञान केन्द्र खोटाङका निमित्त प्रमुख हरिनारायण राईले जानकारी दिए ।
लम्पी स्कीन रोगको महामारीले गाई/गोरु बिरामी हुँदा र मर्दा खोटाङमा रोपाइँ प्रभावित भएको किसानले बताएका छन् । खेत जोत्ने प्रविधि कममात्र भित्रिएको जिल्लाका अधिकांश कृषकले गोरु प्रयोग गरेर खेत तथा बारी जोत्दै आएका छन् ।
देशभर महामारीको रुपमा फैलिएको लम्पी स्कीन रोगबाट जिल्लामा तीन सयभन्दा बढी गाईरगोरु मरिसकेको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र उदयपुरको सम्पर्क केन्द्र खोटाङ दिक्तेलले जनाएको छ । मुख्यगरी खेतबारी जोत्नका लागि जिल्लाका किसानले पालेका गाईरगोरुमा फैलिएको लम्पी स्कीन नियन्त्रणमा हालसम्म कसैको ध्यान नपुगेको जिल्लाबासीको आरोप छ ।
लम्पी स्कीन नियन्त्रणका लागि स्थानीय तहले निःशुल्क वितरण गर्न पठाएको औषधिसमेत प्राविधिकले शुल्क लिएर कृषकलाई बेच्ने गरेको समाचार स्रोतले बताएको छ । लम्पी स्कीन पीडित कृषकका लागि निःशुल्क वितरणका लागि पठाइएको औषधि प्राविधिकले शुल्क लिएर बिक्री गरेको बारेमा अहिलेसम्म कसैबाट पनि गुनासो नआएको स्थानीय तहका पशु शाखा प्रमुखले बताएका छन् । |
दाङमा बस र टिपर ठोक्किँदा १७ जना घाइते दाङ । दाङमा बस र टिपर ठोक्किँदा १७ जना घाइते भएका छन्।
घोराही–लमही सडक खण्डअन्तर्गत मंगलबार दिउँसो लमही नगरपालिका(६ स्थित बेलदमारमा रा १ ख २०१७ नम्बरको टिपर र रा १ ख ९९७८ नम्बरको बस ठोक्किँदा १७ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक राजनकुमार गौतमले बताए।
बसमा सवार २५र२६ जनामध्ये १७ घाइते भएका र उनीहरूको लमही अस्पतालमा उपचार भइरहेको छ। घाइते सबैको अवस्था सामान्य रहेको छ।
बस ब्रेक फेल भई अनियन्त्रित हुँदा लमहीबाट घोराहीतर्फ आउँदै टिपरसँग ठोक्किँदा दुर्घटना भएको हो। |
दाङमा अविरल वर्षाले १६ घर डुबानमा, एक घर भत्कियो काठमाडौं । अविरल बर्षाका कारणले दाङको लमही नगरपालिका गढवा गाँउपालिका र राजपुर गाँउपालिकामा १६ घर डुबानमा परेका छन् भने एक घर भत्किएको छ ।
घरहरु डुबानमा परेको खबर प्राप्त हुनासाथ पुगेको प्रहरीले नागरीकहरुको उद्दार गरेर सुरक्षित स्थानमा सारेको छ । राजपुर गाँउपालिका २ कि पुष्पा नेपालीको घर भत्किएपछि उनको परिवारलाई छिमेकी ग्वाते कुमालको घरमा सारिएको दाङ प्रहरीले जनाएको छ ।
त्यसैगरी खहरे खोलाहरुमा आएको बाढीका कारण गढवा कालाकाँटे हुलाकी सडक खण्ड अवरुद्ध भएको छ । पालिकाको सहयोगमा डोजरहरुको प्रयोग गरेर बाढि संगै आएको पहिरो तथा लेदो हटाउने काम शुरु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै तुलसीपुर देखी घोराही आउँदै गरेको स्कारपियो तुलसीपुर १४ मा पर्ने स्थानिय खोलामा आएको बाढिले बगाएको छ । गाडीमा चालक मात्रै रहेको र चालकको उद्दार गरिएको पनि प्रहरी जनाएको छ ।
लगातारको वर्षाले राप्ती नदि र बबई नदिमा बाढि आउन सक्ने भन्दै जल तथा मौसम विज्ञान विभाव फिल्ड कार्यालय दाङले बिहानै नदी तटका बासिन्दालाई सतर्क रहन सुचना जारी गरेको थियो । |
भीमसेन थापा स्मृति पुरस्कार राष्ट्रिय आविष्कार केन्द्रलाई काठमाडौं । यस वर्षको भीमसेन थापा स्मृति पुरस्कार महावीर पुन संस्थापक रहेको राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरिएको छ ।
भीमसेन थापाको २४९ औं जन्मजयन्तीका अवसरमा भीमसेन थापा स्मृति प्रतिष्ठानले मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै उक्त पुरस्कार राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरेको हो ।
रु. १ लाख राशि रहेको उक्त पुरस्कार उपप्रधान एवं रक्षामन्त्री पूर्ण बहादुर खड्काले केन्द्रका संस्थापक महावीर पुनलाई हस्तान्तरण गरे । पुरस्कार हस्तान्तरण गर्दै खड्काले यसअघि महावीर पुनसंग भएको भएको सहमति कार्यान्वयनमा ढिलाई भएको भन्दै छिटै कार्यान्वयन गर्ने प्रतिवद्धता जनाए ।
उनले सरकारले अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कार सम्बन्धी कामलाई एकीकृत रुपमा संचालन गर्न आवश्यक कानूनलाई छिटै सदनमा लगिने बताए ।
त्यस्तै केन्द्रका संस्थापक पुनले अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कार सम्बन्धी काममा युवाहरुलाई परिचालन गर्दै मुलुकको बिकास गर्न सकिने बताए ।
उहाले सरकारले यसअघि आफुसंग गरेको सहमतिका केहि बुदाहरु कार्यान्वयन नभएको भन्दै मन्त्री खड्काको ध्यानाकर्षण गराएका थिए । |
रुपन्देहीका नदीमा फसेका पाँच जनाको उद्धार काठमाडौं । रुपन्देहीका विभिन्न नदीमा फसेका पाँच जनाको सशस्त्र प्रहरीले उद्धार गरेको छ ।
बुटवल उपमहानगरपालिका १३ र १४ को सीमाना दानव नदीमा दाउरा खोज्न गएर फसेका एक जना, तिनाउ नदीमा फसेका एक जना र मायादेवी गाउँपालिका ३ बेथरीमा तिनाउ नदीमा फसेका तीन जनाको उद्धार गरिएको प्रहरीको भनाइ छ ।
प्रहरीले बुटवल–२ पाखापानीमा बस्दै आएका ६४ वर्षीय मीनबहादुर गाहा, मायादेवी गाउँपालिका–६ का २६ वर्षीय अबदेश पाल, २० वर्षीय सुनिल पाल र सीयारी गाउँपालिका–२ का अबदेशकुमार यादवको उद्धार गरिएको हो।
यसैगरी प्रहरीले बुटवल–११ टपमजुवाको तिनाउ नदी किनारमा रहेको हरिलाल गाहाको घरको सामान सुरक्षित ठाउँमा सारिएको प्रहरीको भनाइ छ। |
प्रहरी इञ्चार्ज मृत फेला घटनामा होटल सञ्चालक आमा छोरा पक्राउ गलकोट । होटलमा मृत फेला परेका प्रहरी वरिष्ठ नायब निरीक्षक उज्ज्वल पौडेलको घटनामा अनुसन्धानका लागि बागलुङ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
बागलुङको बडिगाड गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय भीमगिठेका इञ्चार्ज पौडेल मृत फेला परेको स्थानको होटल सञ्चालिका आशा कुँवर र उनका छोरा विनोद कुँवरलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय बागलुङ ल्याइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए ।
घटना शङ्कास्पद देखिएको भन्दै प्रहरी उपरीक्षको नेतृत्वमा घटनास्थल बडिगाड गाउँपालिका–६ खार बजार पुगेको प्रहरीले आमाछोरालाई पक्राउ गरेको छ ।
यस्तै मृत फेला परेका प्रहरी वरिष्ठ नायब निरीक्षक पौडेलको शव परीक्षणका लागि बागलुङ ल्याउने तयारी थालिएको छ । शवको गहिरो र विस्तृत अनुसन्धानका लागि धौलागिरि अस्पताल र आवश्यक परेमा पोखरासमेत पठाइने प्रहरीको भनाइ छ ।
आशा होटल एण्ड खाजा घरमा गए राति प्रहरी इञ्चार्ज पौडेल मृत फेला परेका थिए । प्रहरीले घटनाका विषयमा अनुसन्धानपछि मात्रै वास्तविकता बताउने जनाएको छ । प्रहरी उपरीक्षक खड्काले भने, “प्रहरी गहिरो अनुसन्धानमा छ, प्रहरी इञ्चार्जको नै यस्तो अवस्था हुनु निकै दुःखद् हो, घटना शङ्कास्पद देखिन्छ, प्रहरी घटनाको विषयलाई छिट्टै बाहिर ल्याउन लागि परेको छ ।” |
नयाँ पर्यटकीय गन्तव्य पुम्दीकोटको विशाल मूर्ति गण्डकी । देशका अधिकांश स्थानमा सुविधाको खोजी गर्दै सर्वसाधारण गाउँ छोड्दै हिँड्ने गरेको बेलामा पोखरा महानगरपालिका–२२ पुम्दीकोटमा भने विगतमा गाउँ छोड्नेहरू धमाधम घर फर्कन थालेका छन् । जनस्तरको सक्रियतामा पुम्दीकोटमा निर्माण गरिएको ५१ फिट उचाईको विशाल महादेवको मूर्ति यतिखेर विगतमा गाउँ छोड्नेलाई फर्काउन बरदान सावित भएको छ ।
पोखरा आउने स्वदेशी एवम् विदेशी पर्यटकले नछुटाउने गन्तव्यका रुपमा विकास भएको विशाल महादेवको मूर्तिका कारण यससँगै जोडिएका बाटाघाटा पनि निर्माण भएका छन् भने पर्यटक लक्षित विभिन्न पूर्वाधार बन्ने क्रम पनि उत्तिकै बढेको छ । पुम्दीकोटमा बढ्दै गएको आकर्षणले आँफूहरूलाई निकै उत्साहित बनाएको महादेवको मूर्ति निर्माण अभियानका संयोजक एवम् पुम्दीकोट कोट विकास समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताए ।
“जनस्तरबाट निर्माण गरिएको विशाल महादेव मूर्तिसँगै गुरुयोजनामा समेटिएका अन्य पूर्वाधार निर्माणका काम बढिरहेका छन्”, उनले भने, “हालसम्मका संरचना निर्माणमा लगभग रु २६ करोड लगानी भइसकेको छ ।” समितिले मूर्तिसहित संरचना निर्माणका लागि रु ४० करोड लागत अनुमान सहितको गुरुयोजना तयार गरेको थियो ।
निर्माण कार्यका लागि समिति स्वयंले नै सक्रियता देखाइरहेका कारण लक्षित लागत अनुमानमा अन्य बाँकी काम सम्पन्न हुने विश्वास लिएको अध्यक्ष बरालले जानकारी दिए । पछिल्ला समयमा देशका विभिन्न स्थानका साथै भारतलगायत विदेशी मुलुकबाट पनि पर्यटक पुम्दीकोट पुग्ने गरेका छन् । बढ्दै गएको आकर्षणले पशुपतिनाथ पछिको दोस्रो तीर्थस्थलका रुपमा पुम्दीकोट स्थापित हुने उनको विश्वास थियोे ।
पछिल्लो समयमा पुम्दीकोटको उक्त मूर्तिकै कारण आसपासका क्षेत्रमा पर्यटकीय पूर्वाधारमा लगानी बढिरहेको समितिका सदस्य मातृका बरालले बताए । “विगतमा सुविधाको खोजीमा गाउँ छोड्ने पनि विशाल महादेवकै कारण फर्कन थालेका छन्,”, उनले भने, “पछिल्ला समयमा होटेललगायत पूर्वाधारमा लगानीको क्रम पनि उत्तिकै बढेको छ ।” पोखराको मुख्य बजार क्षेत्रबाट झण्डै १३ किमी दूरीमा रहेको यहाँ आएर विशाल महादेवको मूर्ति अवलोकनसँगै एकसाथ पोखरा उपत्यकासहित धवलागिरि, अन्नपूर्णजस्ता हिमशृङ्खला अवलोकन गर्न सकिन्छ ।
पुम्दीकोटका पर्यटकीय सम्भावनालाई उजागर गर्ने लक्ष्यका साथ विसं २०७३ फागुनमा महाशिवपुराण लगाउँदा रु छ करोड १८ लाखसहित दानस्वरुप २० रोपनी जग्गा प्राप्त भएको थियो भने २०७८ सालमा दोस्रो पटक महायज्ञ लगाउँदा करिब रु तीन करोड सहयोग प्राप्त भएको थियो । निर्माण अभियानमा तीनवटै तहका सरकार र आम सर्वसाधारणको साथ र सहयोग रहेको सदस्य बरालले जानकारी दिए ।
कोरोना फैलिएका बेलामा पनि निर्माण कार्यलाई निरन्तरता दिँदै सम्पन्न भएको महादेवमूर्तिसहितका पूर्वाधारले यो क्षेत्र धार्मिक पर्यटकीय गन्तव्यका रुपमा स्थापित भएको मूल पुजारी भरत पौडेलले बताए । प्रत्येक दिन बिहान ५ बजेदेखि बेलुका सन्ध्याकालीन आरतीसम्म यस धाममा पूजाआजा हुने गरेको बताउँदै उनले महत्वपूर्ण तिथि र पर्वमा भीडभाड हुने गरेको जानकारी गराए ।
समितिका सचिव नरहरि बरालका अनुसार मूर्ति स्थापनायता दर्शनार्थीको आगमनसँगै दान सहयोग पनि निरन्तर उठ्ने गरेको छ । भक्तजनबाट हुने गरेको दान सहयोगबाट मात्रै हालसम्म पुम्दीकोटमा रु पाँच करोड सङ्कलन भइसकेको उनले जानकारी दिए । “विशेष तिथि र पर्वमा ठाउँ ठाउँबाट ठूलो सङ्ख्यामा भक्तजन पुम्दीकोटमा आउने गरेका छन्”, उनले भने, “गत शिवरात्रिमा मात्रै ५० हजारभन्दा बढी दर्शनार्थी यहाँ आएका थिए ।” हिजो सोमबार झण्डै दस हजारको सङ्ख्यामा दर्शनार्थी पुम्दीकोटमा आएको उनले जानकारी दिए ।
समितिले वृहत् गुरुयोजनाअनुसार बाँकी काम अघि बढाउँदै गएको छ । मूर्ति स्थापनाका साथै प्रशासनिक भवन र गुरुमहाराज आश्रम निर्माण भइसकेका छन् भने नजिकै पल्लो थुम्कोमा सुमेरु पर्वतकै झल्को दिनेगरि संरचना निर्माण भइरहेको छ । विशालमूर्ति रहेको स्थान (कैलाश) र सुमेरु पर्वतलाई जोड्ने विद्युतीय चियरकार निर्माण गर्ने कार्ययोजनासमेत रहेको छ । यी दुई थान करिब चार सय मिटरको दूरीमा रहेको छ । त्यस्तै शान्ति आश्रम, ज्येष्ठ नागरिक मिलन केन्द्र, हरियाली बगैँचा निर्माण गर्ने लक्ष्य राखिएको छ ।
शिवलिला, वन्यजन्तुको जीवनचक्र देखाउने प्रोजेक्टर निर्माणका सम्बन्धमा पनि छलफल भइरहेको जानकारी दिँदै सदस्य बरालले त्यसका लागि करिब रु पाँच करोड लाग्ने देखिएको बताए । मूर्ति परिसरमा गणेश मनोरेल, शिवलिङ्ग आदि स्थापना भइसकेको जानकारी दिँदै उनले परिसरमा आकर्षक प्रवेशद्वार निर्माण भइरहेको बताए । रासस |
त्रिभुवन विमानस्थल भन्सार प्रमुखबाट पोखरेललाई हटाएर पाण्डेलाई दिइयो जिम्मेवारी काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार प्रमुखबाट अरुण पोखरेललाई हटाएर सहसचिव टोकराज पाण्डेलाई जिम्मेवारी दिएको छ ।
एक साताअघि एक सय किलो सुन बरामद भएको प्रकरणले चर्चा पाइरहेका बेला अर्थ मन्त्रालयले पोखरेललाई हटाएर विमानस्थलको भन्सार कार्यालयको प्रमुखको जिम्मेवारी पाण्डेलाई जिम्मेवारी दिएको हो ।
गत आइतबार मात्रै राष्ट्रिय किताबखानाको महानिर्देशकबाट अर्थ मन्त्रालयमा सरुवा भएका पाण्डेले विमानस्थल प्रमुखको जिम्मेवारी पाएका हुन् । |
धार्मिक अनुष्ठानमाथि काठमाडौं महानगरको अवरोध काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थलमा गरिएको धार्मिक अनुष्ठानमाथि अवरोध गरेको छ।
काठमाडौं महानगरपालिका– ३२ स्थित शंखमूलघाटमा स्थानीयले आयोजना गरेको ‘प्रथम शंखमूल तीर्थ श्रावणी महोत्सव’मा काठमाडौं महानगरपालिको प्रहरी टोलीले अवरोध गरेको हो ।
गत १ साउनदेखि सञ्चालन भइरहेको महोत्सवमा मंगलबार महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डे नेतृत्वको नगरप्रहरीको टोलीले अनुष्ठान बन्द गर्न आग्रह गरेको हो।
महानगरपालिकासँग अनुमति नलिई अनुष्ठान गरिएको भन्दै बन्द गराउन महानगर टोली पुगेको हो ।
धार्मिकस्थलमा मात्र धार्मिक कार्यक्रम गर्न नगरप्रहरी प्रमुख पाण्डेले आग्रह गरे भने स्थानीयले पनि सो स्थल धार्मिक स्थल नै भएकाले महोत्सव आयोजना गरेको जवाफ दिए । |
गण्डकी प्रदेशको बजेट खर्च ६५ प्रतिशत अन्नपूर्ण। गण्डकी प्रदेशले गत आर्थिक वर्ष २०७९/८० मा करिब ६५ प्रतिशत मात्रै बजेट खर्च गरेको छ।
प्रदेश सरकारले गत आवमा ल्याएको रु ३५ अर्ब ९० करोड ९० लाख बजेटमध्ये रु २३ अर्ब ६४ करोड ५८ लाख ६० हजार पाँच सय ३७ दशमलव ९६ अर्थात् ६५ दशमलव ८४ प्रतिशत बजेट खर्च गरेको प्रदेश लेखानियन्त्रण कार्यालय गण्डकीले जानकारी दिएको छ। जुन अघिल्लो आव २०७८/७९ को तुलनामा चार दशमलव ४७ प्रतिशत विन्दुले कम खर्च हो। अघिल्लो आवमा प्रदेश सरकारले ७० दशमलव ३१ प्रतिशत बजेट खर्च गरेको थियो।
गत आवमा प्रदेशले चालुतर्फ रु आठ अर्ब ३८ करोड ३८ लाख २३ हजार एक सय ८९ र पुँजीगततर्फ रु १५ अर्ब २५ करोड, २० लाख ३७ हजार तीन सय ४८ खर्च गरेको छ। गण्डकीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित सात मन्त्रालय छन्।
मन्त्रालयगत खर्च अनुसार सबैभन्दा बढी ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयले बजेट खर्च गरेको प्रदेश लेखानियन्त्रक किशोरकुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयले सबैभन्दा कम खर्च गरेका छन्।
गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत आवमा ७१ दशमलव ४५ प्रतिशत बजेट खर्च गरेको छ। कार्यालयका लागि कुल रु एक अर्ब ३१ करोड १६ लाख ६४ हजार बजेट विनियोजन भएकोमा रु ९५ करोड २६ लाख १२ हजार नौ सय ७१ रूपैयाँ खर्च गरेको हो।
गत आवमा अर्थ मन्त्रालयले कुल ७२ दशमलव ७५ प्रतिशत बजेट खर्च गरेको छ। मन्त्रालयलाई रु ११ करोड ९१ लाख २२ हजार तीन सय ९७ बजेट विनियोजन गरिएकोमा रु नौ करोड दुई लाख ४२ हजार ४६ खर्च गरेको हो।
भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ७५ दशमलव ७५ प्रतिशत बजेट खर्च गरेको छ। यो मन्त्रालयमा रु एक अर्ब ९८ करोड ८७ लाख ८१ हजार आठ सय बजेट विनियोजन भएकोमा रु एक अर्ब ५० करोड ८५ लाख एक सय २५ बजेट खर्च भएको हो।
पर्यटन, उद्योग, वन, वातावरण तथा भूसंरक्षण मन्त्रालयले ८० दशमलव ७८ प्रतिशत बजेट खर्च गरेको छ। योे मन्त्रालयले रु एक अर्ब ५५ करोड ९७ लाख २७ हजार तीन सय ९२ बजेट विनियोजन भएकोमा रु एक अर्ब २५ करोड ९९ लाख ४७ हजार नौ सय तीन खर्च गरेको छ।
भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयले सबैभन्दा कम ५७ दशमलव ८४ प्रतिशत बजेट खर्च गरेको छ। मन्त्रालयले रु १४ अर्ब ३२ लाख १३ हजार बजेट विनियोजन भएकोमा रु आठ अर्ब नौ करोड ९५ लाख ४८ हजार तीन सय ७७ खर्च गरेको छ।
ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयले सबैभन्दा बढी ८४ दशमलव ९८ प्रतिशत बजेट खर्च गरेको छ। यो मन्त्रालयले रु पाँच अर्ब ९५ करोड ७१ लाख ९८ हजार बजेट विनियोजन भएकोमा रु पाँच अर्ब छ करोड २६ लाख ५९ हजार नौ सय ३२ बजेट खर्च गरेको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ७४ दशमलव २० प्रतिशत बजेट खर्च गरेको छ। मन्त्रालयले रु छ अर्ब ११ करोड २२ लाख ९१ हजार बजेट पाएकोमा रु चार अर्ब ५३ करोड ५८ लाख ३६ हजार चार सय ८५ खर्च गरेको छ।
“यो वर्ष प्रतिशतका आधारमा हेर्दा अघिल्लो आवको तुलनामा कम खर्च भए पनि गत आवमा रकमका आधारमा बढी खर्च भएको छ,” प्रदेश लेखानियन्त्रक श्रेष्ठले भने, “अघिल्लो आवमा रु २२ अर्बको हाराहारीमा खर्च भएको थियो भने गत आवमा रु २३ अर्ब बजेट खर्च भएको छ।” -रासस |
मध्यपहाडी लोकमार्गमा गाडी चल्न थालेपछि साँखदह बन्यो पर्यटकीय गन्तव्य रुकुम(पश्चिम)। रुकुमपश्चिमको सदरमुकाम नजिकै रहेको छ साँखगाउँ। मुसीकोट नगरपालिका–७ मा पर्ने यो गाउँ निकै सुन्दर छ । लेकाली क्षेत्रमा रहेको समथर भूभागमा रहेको साँखगाउँको बीचमा रहेको दहका कारण पनि साँखगाउँ चर्चामा छ । साँखगाउँमा रहेको साँखदह पर्यटकीय गन्तव्य बन्दै गएको छ।
दह अहिले आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । मध्यपहाडी लोकमार्ग छेउमै रहेका कारण पनि यो दह पर्यटकको रोजाइमा परेको हो । साँखगाउँको पूर्वतिर एउटा टापु छ । उक्त टापुबाट साँखगाउँ र गाउँ रहेको दह देखिने भएकाले मध्यपहाडी लोकमार्ग हँदै यात्रा गर्ने यात्रु गाउँ र दहको अवलोकन गरेरमात्र फर्कन्छन् ।
पछिल्लो पटक स्थानीय तहले दह वरपर विभिन्न संरचना निर्माण गरेपछि दह झनै हेर्न लायक भएको छ । बर्खाको समयमा दहमा पानी भरिएका कारण पनि सुन्दर देखिने स्थानीयवासी गोविन्द मगरले बताए।
“पहिला–पहिला दह हेर्न कोही पनि आउँदैन थिए, जब मध्यपहाडी लोकमार्गमा गाडी चल्न थाले बिस्तारै यहाँ घुम्न आउनेको सङ्ख्या बढेको छ”, उनले भने।
“दहमा नयाँ संरचना पनि बनेका रहेछन्, पहिलाभन्दा दह हेर्न लायक बनेको रहेछ”, यहाँ घुम्न आएका गोपाल रावतले भने। दहमा प्रवेशद्वार, प्रतीक्षालय र दह वरिपरि ढुङ्गा बिच्छ्याइएको छ । “पहिला दह हेर्न आउँदा केही व्यवस्थित थिएन, भैँसी आहाल बसेका हुन्थे, अहिले संरक्षण गरिएको छ”, उनले भने।
पर्यटन प्रवद्र्धनका लागि दह वरिपरि विभिन्न संरचना निर्माण गरिएका वडाअध्यक्ष एक्कबहादुर पाण्डेले जानकारी दिए। उनले भने, “अब दहमा स्थानीयका पशुचौपाया जान पाउने छैनन्, ताल अवलोकनका लागि सहज भएको छ ।”
दह परिसरमा दुई प्रतीक्षालय, दह वरिपरि ढुङ्गा बिच्छ्याएको बाटो, रेलिङ र दह वरिपरि पर्खाल निर्माण गरिएको छ । त्यस्तै दह वरिपरिबाट आएको पानी निकासका लागि नालासमेत निर्माण गरिएको वडाअध्यक्ष पाण्डेले जानकारी दिए।
ताललाई व्यवस्थित बनाई सुन्दरता बढाउने उद्देश्यले विभिन्न संरचना निर्माण गरिएका छन्। अब ताल अवलोकनका लागि चारैतिर पैदल मार्ग भएर सहजै हिँड्न सकिने र थकाइ लागेमा प्रतीक्षालयमा आराम गर्न सकिने वडाध्यक्ष पाण्डेको भनाइ छ।
ताल बर्खामा भरिन्छ भने हिउँदमा पानीको मात्रा अरुबेला भन्दा कम हुनेगर्छ । ताललाई बाह्रै महिना भरिभराउ बनाउनका लागि बाहिरबाट पानी ल्याएर हाल्ने योजना रहेको छ । मध्यपहाडी लोकमार्गको छेउमै रहेको यो ताल मुसिकोट नगरपालिकाको आकर्षक गन्तव्य बन्ने स्थानीयको विश्वास छ । |
null |
प्रभावकारी बन्दै ‘पढ्दै कमाउँदै कार्यक्रम’, विद्यार्थी तथा अभिभावक आकर्षित पोखरा। अधिकांश सामुदायिक विद्यालयमा वर्षे बिदा भए पनि जानकी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत सावित्री नेपाली भने स्कुल आउन छोडेकी छैनन्। विद्यालयले बिदामा पनि पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत बाँसका विभिन्न सामग्री बनाउने सीप सिकाउने भएकाले उहाँ विद्यालय आइरहेकी छिन्।
“खेतीको मौसम छ, विद्यालय पनि बन्द छ, काममा सहयोग गरिदिएहुन्थ्यो भनेर अभिभावकले आशा गर्नु स्वभाविकै हो”, सावित्री नेपालीले भनिन्, “पढाइसँंगै सीप सिकेर भविष्यको आधार बनाउने इच्छा गरेपछि आमाबुबाले मलाई विद्यालय जान सहयोग गर्दै आउनुभएको छ ।”
चक्कुको सहयोगले बाँसका चोया काट्ने क्रममा धेरै सुरुआती दिनमा पटक–पटक हात काट्दा त काम नगरौँ कि भन्ने पनि लाग्थ्यो रे उनलाई । तर सीप सिक्दै जाँदा अहिले पढाइसँगै बाँसका सामग्री बनाउने काम गर्न उत्साह बढेर आएको उनको भनाइ छ ।
सावित्री नेपालीसँगै सीप सिक्दै आएका पोखरा– १५ अमिनतराका सुभाष विश्वकर्मालाई आफूले बुनेका बाँसका सामग्री विद्यालयले मायाको चिनो भन्दै कोसेलीका रुपमा प्रयोग गरेको देख्दा भने आफूलाई निकै खुसी लागेको अनुभव सुनाए।
विद्यालयमा मात्र होइन घरमा पनि बाँसका सामग्री बनाउने गरेको र यसमा अभिभावकको पनि सहयोग भएको उनको भनाइ छ । कक्षा १० मा अध्ययनरत विश्वकर्माले आफूहरूको समूहले पछिल्ला दिन सामूहिक रुपमा व्यवसाय गर्ने सोच समेत बनाउने जानकारी दिए।
नेपाली र विश्वकर्मा त प्रतिनिधि पात्र मात्रै हुन्। विद्यालयले बर्षे बिदामा सञ्चालन गरेको उक्त सीपमूलक तालिममा यतिखेर कक्षा ९ र १० मा अध्ययनरत २० जना छात्रछात्राले लाभ लिएका छन्। बाँसका सामग्री निर्माणसँगै विभिन्न स्थानमा हुने मेला महोत्सवमा पनि स्टल राख्न पाउँदा खुसी लाग्ने गरेको विद्यार्थीहरुको भनाइ छ। विद्यालयको वार्षिकोत्सवमा बाँसका सामग्री निर्माण गर्ने विद्यार्थीलाई नगद वितरण गरिएको थियो ।
अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा आयोजित पर्वतीय महोत्सवमा राखिएको विद्यालयको बाँसको सामग्रीको कक्ष सबैका लागि आकर्षक बनेको विद्यालयका सहायक प्रधानाध्यापक एवम् तालिमका प्रशिक्षक कमलप्रसाद आचार्यले जानकारी दिए। सो अवसरमा विद्यालयले सामग्री बिक्री गरे रु १८ हजार आम्दानी गर्न सफल भएको थियो ।
उनका अनुसार विद्यार्थीले बाँस, करौती, चक्कु, कैची जस्ता घरेलु साधन प्रयोग गरेर घरयासी एवम् होटलमा प्रयोग गर्ने कमल होल्डर, मन्दिर, ट्स्यु पेपर बक्स, फोटो फ्रेमलगायतका आकर्षक सजावटका सामग्री तयार गर्दै आएका छन्।
बिदाको समयमा बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सीप विकास तालिम सञ्चालन गर्दै आएको बताउँदै उनले आफूले सिकेको सीप विद्यार्थीलाई हस्तान्तरण गर्न पाउँदा खुसी लागेको बताए। विद्यालयले दुई वर्षअघिदेखि उक्त तालिम सञ्चालन गर्दै आएको हो।
पोखरा महानगरपालिका–१७ का वडाअध्यक्ष राधिका शाही योगीले विद्यालयले यसवर्ष सञ्चालन गर्ने बाँसका सामग्री बनाउने तालिमको आज एक समारोहकाबीच उद्घाटन गर्दै विद्यार्थीलाई पढाइसँगै जीविकोपार्जनमा सहयोग पुग्ने यस्ता सीपमूलक कार्यक्रमका लागि वडास्तरबाट आवश्यक आर्थिक सहयोग गर्ने बताइन्।
सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको हौसलाका लागि वडामा हुने औपचारिक कार्यक्रममा विद्यार्थीद्वारा उत्पादित बाँसका सामग्री उपहारमा प्रयोग गर्ने थप बजारिकरणमा सहयोग गर्ने उनको प्रतिबद्धता थियो ।
प्रधानाध्यापक अर्जुन कँडेलका अनुसार विद्यालयले पढ्दै कमाउँदै अन्तर्गत सञ्चालित बाँसका सामग्री बनाउने कार्यक्रम प्रभावकारी बन्दै गएको छ। साथै कास्की जिल्लामा प्राविधिक विषय अन्तर्गत पहिलो पटक वन विज्ञानको पढाइ सुरु गरिएको छ ।
गण्डकी बहुप्राविधिक शिक्षालयको सहकार्य र प्राविधिक शिक्षा तथा व्यावसायिक तादिम परिषद् ९सिटिइभिटी०को अनुमतिमा गत वर्षदेखि उक्त पढाइका कक्षा सञ्चालन गरिएको बताउँदै उनले पहिलो वर्षमा १६ जना विद्यार्थी अध्ययनरत रहेको जानकारी दिए विषयगत आठ जना शिक्षक शिक्षिकाले आंशिक शिक्षकका रुपमा अध्ययापन गराउँदै आएका छन्।
विद्यालयको नयाँ भवनमा सञ्चालन गरिएको वन विज्ञान विषयको पढाइलाई प्रभावकारी र गुणस्तरीय बनाउनका लागि पोखरा महानगरपालिकाको रु २२ लाख ५० हजारको आर्थिक सहयोगमा प्रयोगशाला स्थापना गरी सञ्चालनमा आएको छ।
तीन वर्षे डिप्लोमा तहको उक्त पढाइका लागि प्रतिविद्यार्थीबाट एक लाख २५ हजार शुल्कको व्यवस्था गरिएको र त्यसमध्ये पहिलो वर्ष ४० प्रतिशत र दोस्रो र तेस्रो वर्षमा ३०÷३० प्रतिशतका दरले शुल्क बुझाउनुपर्ने व्यवस्था गरिएको वन विज्ञान संयोजक शंकर भण्डारीले जानकारी दिए।
विद्यालयले वन विज्ञान विषयमा लिने प्रवेश परीक्षामा सर्वोत्कृष्ट अङ्क ल्याउने एकजना विद्यार्थीलाई बहुप्राविधिक शिक्षालय एवम् पोखरा महानगर, सिटिभिटी र पोखरा १७ वडा कार्यालयबाट पनि छात्रवृत्तिको व्यवस्था भएको उनको भनाइ छ । वन विज्ञान अध्ययनका लागि विद्यालयले प्रत्येक वर्ष ४० जना विद्यार्थी भर्ना गर्न पाउने अनुमति प्राप्त गरेको छ ।
वन विज्ञान विषयलाई गुणस्तरीय र थप प्रभावकारी बनाउनका लागि सोही स्थानको भित्री गाउँमा रहेको विद्यालयको खेल मैदानमा सुविधा सम्पन्न पक्कि भवन निर्माण भइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र गुरुङले जानकारी दिए।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत रु ५० लाखको लागतमा निर्माणाधीन चारकोठे उक्त भवनमा वन विज्ञानका दोस्रो र तेस्रो वर्षका कक्षा सञ्चालन गर्ने कार्यक्रम रहेको उनको भनाइ छ। विसं २०२३ सालमा स्थापना गरिएको विद्यालयले २०३५ सालमा मान्यता प्राप्त गरेको थियो । विद्यालयमा ३५० जना विद्यार्थी अध्ययनरत छन्।
गुणस्तरीय शिक्षा कायम गर्दै प्राविधिक एवम् सीपमूलक पढाइले सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण बढेको पोखरा महानगरपालिका शिक्षा महाशाखाका अधिकृत सोमनाथ भण्डारीले जानकारी दिनुभयो । पछिल्लो सामुदायिक विद्यालयमा सात प्रतिशत विद्यार्थी भर्नादर बढेको उनको भनाइ छ। |
केपिलासगढीमा तोरी फलाउने किसानलाई अनुदान रकम वितरण खोटाङ। केपिलासगढी गाउँपालिकाले व्यावसायिकरूपमा तोरी उत्पादन गर्ने किसानलाई अनुदान बापतको रकम उपलब्ध गराउन थालेको छ।
आर्थिक वर्ष २०७९/०८० को गाउँसभाबाट स्वीकृत कृषि विकास कार्यक्रमअन्तरगत गाउँपालिकाले व्यवसायिकरूपमा तोरी उत्पादन किसानलाई खेती गरेको जग्गाको क्षेत्रफल र उत्पादन भएको तोरीको मात्राको आधारमा मुल्यांकन गरेर अनुदान बापतको रकम उपलब्ध गराउन थालेको होे।
गाउँपालिकाले वडा नं. १स्थित फेदीका २७ किसानका लागि रु एक लाख ३२ हजार २५०, खार्ताम्छाका २८ किसानका लागि रु एक लाख ३४ हजार २५० र बास्पानीका ४५ किसानका लागि रु एक लाख ६६ हजार ५०० वितरण गरेको जनाइएको छ। फेदीबाट थालिएको अनुदान बापतको रकम वितरण अभियान सबै वडामा पुगेर सम्बन्धित किसानको हातमा पुर्याइने गाउँपालिकाले जनाएको छ।
व्यवसायिक तोरी खेतीका माध्यमबाट किसानलाई स्वरोजगार बनाउँदै आयातित खाने तेल विस्थापित गर्ने उद्देश्यले किसानलाई अनुदान दिने कार्यक्रम ल्याइएको गाउँपालिका प्रमुख समिर राईले बताए।
“किसानलाई व्यवसायिकरूपमा तोरी खेती गर्न उत्प्रेरित गर्ने, तोरीको उत्पादन बढाउने, बजारीकरण गर्ने र गाउँपालिकालाई खाने तेलमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ ‘तोरी किसान अनुदान कार्यक्रम’ अघि सारिएको हो”, उनले भने, “गाउँपालिकाको गौरवको योजनाकारूपमा ल्याइएको तोरी खेती प्रवर्र्दन कार्यक्रमले कृषकको आयआर्जनमा टेवा पुग्नाका साथै वातावरण सन्तुलनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।”
तोरी खेती प्रोत्साहनका लागि तयार गरिएको अनुदान कार्यक्रमअन्तर्गत गाउँपालिकाबाट अनुदान पाउन किसानले कम्तीमा तीन रोपनी जग्गामा तोरी खेती लगाउनुपर्ने वा कम्तीमा दुई मुरी तोरी उत्पादन गर्नुपर्ने कार्यविधिमा उल्लेख छ। गाउँपालिकाका प्रमुख संयोजक रहेको अनुगमन तथा मुल्यांकन समितिको सिफारिसका आधारमा कृषक, कृषि फार्म र कृषक समूहलाई बैंक खातामा अनुदान उपलब्ध गराइने भएको छ।
कम्तीमा तीन रोपनी वा सोभन्दा बढी जग्गामा तोरी खेती लगाउने किसानलाई प्रतिरोपनी रु एक हजार र कम्तीमा दुई मुरी वा सोभन्दा बढी तोरी फलाउने किसानलाई प्रतिमुरी रु दुई हजार ५०० का दरले अनुदान उपलब्ध गराइएको कृषि शाखाले जनाएको छ। गाउँपालिकाबाट अनुदान पाउनका लागि कम्तिमा तीन रोपनी जग्गामा तोरी खेती लगाउनुपर्छ अथवा कम्तिमा दुई मुरी तोरी उत्पादन गर्नुपर्ने हुन्छ।
तीन रोपनीभन्दा थोरै जग्गामा दुई मुरीसम्म तोरी उत्पादन गर्ने किसानले पनि अनुदान पाउने गाउँपालिकाले जनाएको छ। जग्गाको क्षेत्रफलको आधारमा अनुदान लिने की तोरी उत्पादन गरेर मुरीको आधारमा अनुदान लिने भन्ने निर्णय किसानले नै गर्नेछन्।
गाउँमा खपत भएपछि बाँकी रहेको तोरीको तेल निर्यात गर्ने लक्ष्य राखिएको गाउँपालिका प्रमुख राईले जानकारी दिए। सात वडा रहेको उक्त गाउँपालिकाका सबैजसो ठाउँमा तोरी खेती हुने कृषि शाखाले जनाएको छ। कतिपय किसानले तेलकै लागि पनि तोरी खेती लगाउने गरेका छन्।
खाने तेलमा आत्मनिर्भर भए वार्षिक करिब रु सात करोड गाउँपालिकाबाट बाहिर नजाने वडा नं. १स्थित फेदीका बासिन्दा लक्ष्मण साम्पाङ ‘समिप’ले बताए। हालको जनसङ्ख्यालाई आधार मान्दा केपिलासगढीमा वार्षिक रु छ करोड ५० लाखदेखि रु सात करोडको हाराहारीमा खाने तेल भित्रिने गरेको गाउँपालिकाको तथ्यांकले देखाएको छ।
खाने तेलमा बाहिरिने रकमलाई आफ्नै गाउँपालिकामा राख्ने वातावरण बनाउन तोरी खेती गर्ने कृषकलाई अनुदान बापतको रकम उपलब्ध गराउने कार्यक्रम लागू गरिएको गाउँपालिका उपप्रमुख गुरुराज राईले बताए।
“प्रांगारिक तोरीको तेललाई गाउँपालिकाको पहिचानको रूपमा स्थापित गर्ने लक्ष्यसमेत लिइएको छ। हामीले युवापुस्तालाई आफ्नै गाउँमा स्वरोजगार बनाउन अभियान शुरु गरेका छौँ”, उनले भने, “निर्वाहमुखी कृषि प्रणालीलाई उत्पादनसँग जोडेर कृषकको आयआर्जन वृद्धि गर्दै गरिबी घटाउने गाउँपालिकाको योजना हो ।”
अनुदान कार्यक्रमका लागि गाउँपालिकाले तोरी खेती सूचीकरण फारमदेखि निवेदनको ढाँचासमेत तयार पारेको छ। उक्त फराममा किसानको नाम, ठेगाना, कित्ता नम्बर, खेती गरिएको जमिनको क्षेत्रफल उल्लेख गर्नुपर्ने छ। – रासस |
खरको छानो फालेर जस्ता, खुसी छन् रामपुरवासी आनन्दले बस्दा पाल्पा। पानी आउँदा चुहिने, हावाहुरी लाग्दा छानो उडाउने जस्ता समस्याले कमला सुनारका कैयौँ दिनरात कष्टकरसँग बिते । उज्यालो हुँदा त बरु रुखमुनि बसेर भए पनि दिन बिताउँला तर रातको समयमा हावाहुरी, पानी परेपछि कसरी रात कटाउने भन्ने चिन्तै चिन्ताले धेरै रात निदाउन पाइनन्।
खरले छाएको छानो पानी परेपछि चुहिहाल्ने, हावाहुरी आउँदा उडाउने गर्दा निकै दुःखसँग दैनिक जीवनयापन गर्न विवश भइन्। अहिले भने यी समस्याबाट मुक्त हुन पाउँदा जीवनकै ठूलो खुसी मिलेको उनी बताउछिन्। रामपुर नगरपालिका–१० स्वामीभन्ज्याङ बस्ने सुनारलाई नगरपालिकाले २२ पाता जस्तापाता उपलब्ध गराएपछि सुखसँग दिन बिताउन पाएको बताइन्।
“खरको छानो भएको घर पानी पर्ने बित्तिकै चुहिएर बस्नै सकिँदैनथ्यो, हावाहुरी चलेका बेला डाँडाभाटा नै नराखेर उडाएर लैजान्थ्यो”, उनले भनिन्, “रातको समयमा त घरको झ्याल, ढोकामुनि बसेर धेरै रात बिताइयो, अहिले नगरपालिकाले निःशुल्क जस्तापाता उपलब्ध गराएपछि आनन्दले घरमा बस्न पाइएको छ।”
पानी परेका बखत तथा हावा चलेका बेला झ्याल, ढोकामुनि कहिलेकाहीँ छिमेकीका घरमा ओत लाग्दै आएकी सुनारलाई बलियो छानो भएपछि घामपानी, हावाहुरीका समय ढुक्कले बाँस बस्ने ठाउँ बनाउन नगरपालिकाले सहयोग गरेपछि उनी उत्साहित छिन्।
जस्तापाता किन्ने पैसा नहुँदा दुःखसँग जीवन गुजारा चलाउँदै आएकी सुनारले पानी आउँदा घरभित्रै मूल फुट्ने, छानो चुहेर बस्नै सकस रहेका बेला स्थानीय सरकारले विपन्नको दुःखमा मलम लगाउने काम गरेको बताइन्। उनलाई नगरपालिकाले चार वर्षअघि दुईतले घर छाउन २२ पाता जस्तापाता उपलब्ध गराएको हो । त्यस समययता सुनारलाई घरमा बसोबासको समस्या नभएको बताउँछिन्।
रामपुर–१० कै रानागाउँ बस्ने विनिता विकले नगरपालिकाको सहयोगमा जस्तापाता लगाएको दुई वर्ष भयो। भूकम्पले भत्किएको घरमा नगर सरकारले राहतस्वरुप तीनतले घर ढाक्ने गरी २४ पाता जस्तापाता उपलब्ध गराएको छ। घरमा जस्तापाता किनेर लगाउन समस्या भएको बेला रामपुर नगर सरकारले गरेको सहयोगमा परिवारमा धेरै खुसी ल्याएको उनी बताउँछिन्।
“भूकम्पले घर भत्किएपछि बसोबास गर्न समस्या परेका बेला निःशुल्क जस्तापाता पाउँदा हाम्रो परिवारमा ठूलो राहत भयो, हामी स्थानीयको दुःखमा सहयोगी भावनाले नगर सरकारले गरेको यस सहयोगले गाउँमा सिंहदरबारको झ–झल्को अनुभूति दिलाएको छ”, उनले भनिन्।
भूकम्पको पीडा छँदैछ तर घर छाउन जस्तापाता किन्ने पैसा अभावमा नगरको सहयोगमा जस्तापाता पाएपछि पुनःनिर्माण गरी ओत लागेर बसेको विकले बताइन्। यस कार्यक्रमले घर छाउन जस्तापाता किन्न नसकेर बसेका गरिब, विपन्न परिवारलाई ओत लाग्ने बलियो आधार स्थानीय सरकारले बनाइदिएको उनको भनाइ छ।
कमला सुनार र विनिता विकजस्ता रामपुरका धेरैले नगरको सहयोगमा चुहिने छानो र हावाहुरी चलेका बखत घरको छानो उडाउने समस्याबाट मुक्त भएर बलियो ओत लागेर बस्ने वातावरण पाएका छन्। नगर सरकारले एकै प्रकृतिको हरियो रङमा जस्तापाता वितरण गर्ने गरेको छ।
रामपुर नगरपालिकाले नगरभित्रका खरको छानो रहेका घरधुरी विस्थापित गर्न आर्थिक वर्ष २०७४/७५ देखि ‘रामपुर नगर खरको छानोरहित घर’ कार्यक्रम सुरु गरेको हो। नगरभित्रका खरको छानो भएका सात सय १९ घरधुरी सर्वेक्षण गरी काम अगाडि बढाइयो। हालसम्म ६ सय १२ घरधुरीमा खरको छानो हटाएर जस्तापाता लगाउने काम सम्पन्न भएको छ भने एक सय सात घरधुरीमा जस्तापाता लगाउने काम बाँकी रहेको छ । बाँकी घरहरुमा पनि जस्तापाता लगाउने कार्य सकाएर रामपुर नगरलाई खररहितको घर घोषणा गर्ने नगर सरकारको तयारी छ ।
आव २०७४/७५ मा एक सय ५९, आव २०७५/७६ मा एक सय २०, आव २०७६/७७ मा एक सय ६०, आव २०७७/७८ मा ८७, आव २०७८/७९ मा ४०, २०७८/७९ मै विपद्बाट ११ र आव २०७९/८० मा ३५ वटा घरधुरीमा जस्तापाता लगाइएको नगरपालिकाका इन्जिनियर कृष्ण थापाले जानकारी दिए।
कार्यक्रम सुरु भएदेखि हालसम्म खरको छानोरहित घर कार्यक्रमको लागि रामपुर नगरपालिकाबाट रु एक करोड ६७ लाख, प्रदेश सरकारबाट रु ५० लाख गरी खरको छानो हटाएर जस्तापाता लगाउँदा भएको कूल लागत रु दुई करोड १७ लाख बराबरको रकम खर्च भइसकेको छ। पहिलो वर्ष नगरपालिकाले आव २०७४/७५ रु ५० लाख रकम विनियोजन गरेर काम सुरु गरेको हो भने दोस्रो वर्ष आव २०७५/७६ मा नगरपालिकाबाट रु एक करोड र प्रदेश सरकारबाट रु ५० लाख रकम विनियोजन गरी काम गरियो ।
आव २०७६/७७ र आव २०७७/७८ मा अघिल्लो आर्थिक वर्षकै केही रकम बाँकी रहेकाले सोही रकमबाट जस्तापाता वितरण कार्य भयो। आव २०७८/७९ मा नगरपालिकाबाट रु पाँच लाख, आव २०७९/८० मा रु १२ लाख बराबरको रकम विनियोजन गरी काम गरेको नगरपालिकाले जनाएको छ। प्राविधिकले नाप नक्सांकनन गरेर समितिको सिफारिसमा सिङ्गो घर छाउन पुग्ने जस्तापाता सम्बन्धित घरधनीलाई वितरण गरिँदै आएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपाने बताउँछन्।
उनी भन्छन्, “खरको छानोमुनि बसोबास गरेका परिवार, भइपरि आउने आगलागी, भूकम्पलगायतका विभिन्न विपद्मा परेका नागरिकलाई पनि उनीहरुको अवस्था हेरेर बाँसस्थानका लागि नगर सरकारले घर छाउन पुग्ने गरी जस्तापाता उपलब्ध गराएको छ, यो कार्यक्रम रामपुरमा प्रभावकारी रुपमा अगाडि बढिरहेको छ ।”
सानो झुप्रो त्यही पनि खरको छानो पानी पर्दा चुहेर घरभित्रै पानीको आहालभित्र विपन्नले जस्तापाता छाउने रकम नहुँदा त्यत्तिकै बस्नुपर्ने बाध्यता थियो। चुहिने खरको छानोमुनि बसेर कष्टकर रुपमा छोराछोरीको साथमा जीवन व्यतित गर्दै आएका अभिभावकहरु अहिले ढुक्कले बसोवास गरिरहेका छन्।
घरको छानो व्यवस्थित र बलियो बनेपछि हावाहुरी, पानी परेका समय भय, डर हटेको लाभान्वितहरु बताउँछन् । विशेषगरी वर्षायाम सुरु भएपछि खरका छानोमुनि बसोबास गरिरहेका परिवारमा घर चुहिने समस्याले निकै पिरलो पारिरहेको हुन्थ्यो ।
स्थानीयवासीले नगरपालिकामा पेस गरेको निवेदनका आधारमा क्रमैसँग जस्तापाता उपलब्ध गराउने कार्य भइरहेको छ। संकलित निवेदनको आधारमा प्राविधिकसहितको कर्मचारी र जनप्रतिनिधिको टोली गाउँ–गाउँमा पुगेर अनुगमनपश्चात् प्राविधिक अध्ययन गरी जस्तापाता वितरण भइरहेको छ।
मूल घरमा खरको छाना भएको हुनुपर्ने र प्राविधिकको नाप नक्साङ्कनअनुसार घरको क्षेत्रफल हेरेर जस्तापाता छाउने तयारी गरेपछि एक घरधुरीलाई रु २५ हजारदेखि ४० हजारसम्मको अनुदानस्वरुप नयाँ संरचना कायम भएका घरपरिवारलाई जस्तापाता उपलब्ध गराइएको छ।
सुरुका बेला नगरपालिका कार्यालयबाटै जस्तापाता वितरण गर्ने गरिएकामा लाभग्राहीको सहजताका लागि नगरपालिकाले तोकेको पसलबाट वितरण गर्ने काम भइरहेको छ। नगरपालिकाका जनप्रतिनिधिले सुरु गरेको यो कार्यक्रमबाट यहाँका नगरवासी उत्साहित बनेका छन्।
निर्वाचनका बेला आफूले नागरिकसामु गरेका प्रतिबद्धताहरु पूरा गर्न ‘रामपुर नगर खरको छानोरहित घर’ कार्यक्रम सुरु गरेको र यस कार्यक्रमलाई नगरका सबै घर खररहित सम्पन्न नहुँदासम्म हरेकवर्ष निरन्तर रुपमा वजेट विनियोजन गरी अगाडि बढाउँदै लैजाने नगरपालिकाका प्रमुख रमणबहादुर थापाले बताए।
“सामान्य जस्तापाता किन्ने पैसा नभएर नागरिकले चुहिएको खरको छानोमुनि बसेर जीवन बिताउन बाध्य छन्”, नगर प्रमुख थापाले भने, “उनीहरुलाई घर छाउन नगर सरकारले आवश्यकताको आधारमा आफू निर्वाचित भएर आएदेखि नै ‘रामपुर नगर खरको छानोरहित घर’ सुरु गरेको कार्यक्रमबाट विपन्न, गरिब परिवारका नागरिकले पानी पर्दा, हावाहुरी चल्दा आनन्दले बसोवास गरिरहेका छन्” ।
रामपुर नगरपालिकामा उहाँको हाल नगर प्रमुख पद दोस्रो कार्यकाल हो। आफ्नो कार्यकालमा आफूले निर्वाचनका बेला जनताको घरदैलोमा पुगेर गरेका प्रतिबद्धताहरु पूरा गर्ने गरी कामहरु अगाडि बढाएको नगर प्रमुख थापाले बताए।
सुन्दर र नमूना नगरका रुपमा चिनाउन नगरपालिकाले विशेष प्राथमिकतामा राखेर खरका छानारहित नगर कार्यक्रमलाई हरेक वर्ष निरन्तरता दिइरहेको छ । |
बाढीबाट हुने क्षति न्यूनीकरणमा जुटे कञ्चनपुरका स्थानीय तह कञ्चनपुर। बाढीजन्य प्रकोपबाट हुने क्षति न्यूनीकरणका लागि कञ्चनपुरका स्थानीय तह पूर्वतयारीमा जुटेका छन्।
यसका लागि गैरसरकारी संस्थाको समन्वयमा समुदायमा आधारित बाढी पूर्वतयारीका लागि यहाँका स्थानीय तहले कृत्रिम घटना नमूना अभ्यासलगायतका कार्यक्रमलाई अगाडि बढाएका छन्। बाढी आउनुपूर्व अपनाउनुपर्ने सावधानी, बाढी आइसकेपछि अपनाउने क्रियाकलापसँगै बाढीपश्चात गर्नुपर्ने कार्यबारे स्थानीय समुदायलाई जानकारी दिन थालेका हुन्।
“विसं २०६५ मा ठूलो बाढी आयो, पूर्वसावधानी अपनाउन नसक्दा निकै ठूलो धनजनको क्षति भयो”, शुक्लाफाँटा नगरपालिका विपद् शाखाका प्रमुख कृष्णदत्त भट्टले भने, “यति ठूलो बाढी आउला भनेर कसैले कल्पना गरेकै थिएनन्, विपद् पूर्वजानकारी दिएर नआउने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सचेत पार्ने कार्यमा जुटेका छौँ।”
पुर्नवास नगरपालिका वातावरण तथा विपद् शाखाका प्रमुख ओमनाथ ढकाल बाढीजन्य प्रकोपबाट हुने क्षति न्यूनीकरणका लागि सचेतना अभियान थालिएको जानकारी दिए।
“गत वर्ष बाढी आउँदा नगरपालिकाका वडा नं २, ५ र १० का बासिन्दा निकै प्रभावित भए, बाढीजन्य प्रकोपबाट बच्नका लागि तयारी पुगेको थिएन”, उनले भने, “पूर्वतयारी नहुँदा दोदा नदीको बाढी बस्तीमा पस्दा डुबानको समस्या सिर्जना भयो, जसबाट स्थानीय बासिन्दाले खाद्यान्न, लत्ताकपडा र भौतिक पूर्वाधारमा क्षति बेहोर्नुपर्यो।”
विगतको बाढीजन्य प्रकोपबाट पाठ सिक्दै सचेतनासँगै नगरस्तरीय विपद् व्यवस्थापन समितिका कार्यदलका सदस्यलाई बाढी पूर्वतयारीका अभ्यास गराइएको उनको भनाइ छ। उनका अनुसार नगरपालिकाले यसवर्ष बाढीजन्य प्रकोपमा फसेका व्यक्तिको उद्धार गर्न मोटरबोट खरिद गरेको छ।
नेपाल राष्ट्रिय समाज कल्याण संघ कञ्चनपुर र मर्सिकोरको साझेदारीमा सञ्चालित एमरेड परियोजनाले बाढीजन्य प्रकोप न्यूनीकरणको पूर्वतयारीमा स्थानीय तहसँंग समन्वय गरी कार्य गरिरहेको छ। विपद् व्यवस्थापनका लागि परियोजनाअन्तर्गत आवश्यक सामग्री उपलब्ध गराइएको छ।
बाढीजन्य प्रकोपबाट स्थानीय बासिन्दाको जीउधनको सुरक्षाका लागि पूर्वसूचना कार्यदल, प्राथमिक उपचार कार्यदल र खोज तथा उद्धार कार्यदलका सदस्यको क्षमता अभिवृद्धिका लागि आवश्यक तालिम दिने गरिएको परियोजनाका संयोजक महेश घिमिरेले बताए।
बाढीजन्य प्रकोपबाट बर्सेनि हुँदै आएको मानवीय क्षति न्यूनीकरणका लागि समुदायलाई बलियो बनाउन पूर्वतयारी गर्नु आवश्यक रहेको विपद्का क्षेत्रमा लामो समयदेखि क्रियाशील जनक लेखकको भनाइ छ।
“स्थानीयस्तरमा गठन भएका कार्यदलको क्षमता परीक्षण गर्नका लागि नमूना कृत्रिम अभ्यास सकारात्मक छ, यसले बाढीजन्य प्रकोपबाट हुने धनजनको क्षति न्यूनीकरणमा सघाउ पुर्याउँछ”, उनले भने, “कार्यदलका सदस्यको कमी–कमजोरी पत्ता लगाई सक्षम बनाउने कार्यसँगै स्थानीय समुदालाई बाढीजन्य प्रकोपसँग लड्नका लागि सक्षम बनाउँछ।”
उहाँका अनुसार हालसम्म पुर्नवास नगरपालिकाका नौ र शुक्लाफाँटा नगरपालिकाका दुई गरी ११ समुदायमा बाढी पूर्वतयारीका लागि कृत्रिम घटना नमूना अभ्यासको कार्य गरिएको छ।
“बाढीजन्य प्रकोपबाट बच्ने उपायबारे जानकार नहुँदा डुबानमा पर्दा मात्रै सुरक्षित स्थानतर्फ जाने गरेका थियौँ”, पुर्नवास नगरपालिका पदम परियारले भने, “नगरपालिकाले थालेको सचेतना अभियानले बाढीजन्य प्रकोपबारे जानकार भएका छौँ, आपत्कालीन सञ्चालन केन्द्रसँंग समन्वय गरी बाढीजन्य प्रकोपबारे जानकारी लिन्छौँ, नदीको पानी खतरा तह पार गर्नअघि नै सुरक्षित स्थानमा जाने गरेका छौँ, यसबाट मानवीय क्षति हुन पाएको छैन।”
बाढीजन्य प्रकोपबाट बर्सेनि कञ्चनपुरमा झन्डै २० हजार बढी घरधुरी प्रभावित हुने गरेका छन्। – रासस |
दमौलीका अधिकांश औषधि पसलमा अनधिकृत व्यक्ति दमौली। तनहुँको सदरमुकाम दमौली बजारमा सञ्चालित अधिकांश औषधि पसलमा अनुमतिपत्र (लाइसेन्स) प्राप्त व्यक्ति नबसेको भेटिएको छ। व्यास नगरपालिकाको सक्रियतामा सोमबार गरिएको अनुगमनका क्रममा अधिकांश त्यस्ता पसलमा असम्बन्धित व्यक्ति भेटिएको हो।
प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीको नेतृत्वमा भएको अनुगमनमा क्रममा औषधि पसलमा अनुमतिपत्र प्राप्त व्यक्ति बसेको हुनुपर्ने प्रावधान भए पनि त्यस्तो नभेटिएको हो। प्रमुख प्रशासकीय अधिकृत सुवेदीका अनुसार २१ औषधि पसलमा अनुगमन गरिएको थियो।
उनले भने, “औषधि पसलमा फार्मेसी पढेका र अनुमतिपत्र प्राप्त व्यक्तिमात्र बसेर औषधि बिक्री गर्न पाउँछन्। तर सञ्चालनमा रहेको अधिकांश औषधि पसलमा अनुमतिपत्र प्राप्त व्यक्ति भेटिएनन्।” त्यस्तै अनुगमनका क्रममा अधिकांश औषधि पसल नगरपालिकामा दर्ता नभएको समेत भेटिएको उनले बताए।
अनुगमन टोलीले वेदान्त मेडिकल, आयु औषधि पसल, युनिक फर्मा, सिटी मेडिकल, विजय मेडिकल, पाण्डे फार्मेसी, स्टार पारस मेडिकल, मिर्लुङ मेडिकल हल, ऋषि फार्मेसी, निष्ठा फार्मेसी, श्रेया फार्मेसी, राकु मेडिकल सेन्टर, राना मेडिकल हल, कृष्ण मेडिकल फर्मा, शीतल आयुर्वेद फर्मा, मित्रता फार्मेसी, हेल्थ केयर फार्मेसी, तनहुँ डेन्टल फार्मेसी, थापा मेडिकल हल र मिश्र मेडिकल हलमा अनुमगन गरेको थियो।
नगरपालिकाका जनस्वास्थ्य निरीक्षक लक्ष्मी गुरुङका अनुसार फार्मेसी पढेका व्यक्तिले अनुमतिपत्र लिएर भाडामा दिने गरेको जनाइएको छ। स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा काम गर्ने फर्मासिस्टहरू बढी मुनाफा आर्जन गर्ने लोभमा बिरामीको स्वास्थ्यमाथि खेलबाड गर्दै निश्चित रकम लिएर भाडामा अनुमतिपत्र भाडामा लगाउने र फर्मासिस्ट पढेका प्राविधिक अन्यन्त्र काम गर्ने गरेको भेटिएको उनको भनाइ छ। अनुगमन टोलीले केही औषधि पसलबाट म्याद सकिएको औषधिसमेत जफत गरेको जनाएको छ। |
जुम्लामा बाह्र हजार पशु ‘लम्पी स्किन’बाट सङ्क्रमित जुम्ला। जुम्लाको आठवटै स्थानीय तहका करिब १२ हजारभन्दा बढी पशु ‘लम्पी स्किन’ रोगबाट सङ्क्रमित भएका छन्। जिल्लाभर प्रकोपको रूपमा फैलिइरहेको रोगले १२ हजार पाँच सय गाईभैँसी, गोरु, बाछाबाछी सङ्क्रमित भएको पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका प्रमुख ज्ञानेन्द्रसिंह बुढ्थापाले बताए।
कार्यालयबाट यहाँका स्थानीय तहलाई ७५ का दरले खोप वितरण गरिएको छ। बजेटको अभावले सम्बन्धित स्थानीय तहलाई औषधि खरिद गरी उपचार गर्न निर्देशन गरिएको छ। स्थानीय तहमै पशु प्राविधिक खटाएको कार्यालय प्रमुख बुढ्थापाको भनाइ छ।
उक्त रोगबाट मरेका पशुको सङ्ख्या र विवरण पठाउन भनी जिल्लाका स्थानीय तहलाई पत्रचार गरिएको छ। यकिन तथ्यांक आउन केही साता लाग्ने पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाको प्रमुख बुढ्थापाले जानकारी दिए।
पाँच सय पशुलाई खोप
जिल्लाका स्थानीय तहका करिब पाँच सय गाईभैँसीलाई लम्पी स्किनविरुद्धको खोप लगाइएको पशु सेवा कार्यालयले जनाएको छ। खोप खरिद गरी पालिकामा कार्यरत पशु प्राविधिकबाट तिलाका नौवटै वडाका स्थानीयवासीको पशुलाई खोप लगाएको तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले बताइन्।
पालिकाको सबैभन्दा बढी वडा नं २ का पशु लम्पी स्किनबाट सङ्क्रमित भएका छन्। उक्त वडाका ४० वटा गाईगोरु मरेको जानकारी आएको उपाध्यक्ष बुढाको भनाइ छ। वडा नं १ मा पनि व्यापकरूपमा रोग फैलिएको स्थानीयवासी नरबहादुर रावतले जानकारी दिए।
अहिलेसम्म तीन हजार गाईभैँसीलाई औषधि वितरण गरिएको तिला गाउँपालिकाको पशु सेवा कार्यालयले जनाएको छ। रोग न्यूनीकरणका लागि मल्हम, स्प्रे, ज्वरो नियन्त्रणका लागि औषधि, पोटास, लम्पी स्किनका कारण गाईभैँसी मर्न थालेपछि उच्च सतर्कता अपनाउन कृषकलाई अनुरोध गरिएको सिञ्जा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए।
गाईभैँसीमा यो रोग देखापरेमा उच्च ज्वरो आउने, दानापानी कम खाने, दूध उत्पादन घटाउने, छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रो गोलो गिर्खा देखिने, ओठ, मुख र नाकभित्र घाउ देखिने, आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ आउने, लिम्फनोड सुक्नेजस्ता लक्षण देखापर्छ।
यो रोग विशेषगरी सङ्क्रमित लामखुट्टे, झिंगोलगायतको टोकाइबाट लाग्ने गर्दछ। सङ्क्रमित गाईवस्तुको ओसारपसारबाट, सामुदायिक चरन क्षेत्र तथा दानापानी खाने ठाउँबाट, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट यो रोग सर्ने गरेको पशु सेवा कार्यालय जुम्लाले जनाएको छ। |
गण्डकीको केही सडक र पुल आयोजना वर्षौँदेखि रुग्ण पाेखरा। विसं २०७३ असार २० मा ठेक्का सम्झौता भएर निर्माण सुरु गरिएको मनाङको नासोँ गाउँपालिकास्थित दूधखोला पक्की पुल वर्षौंदेखि अलपत्र छ। संघीय सरकारबाट प्रदेशमा हस्तान्तरण भएको उक्त आयोजनाको हालसम्मको भौतिक प्रगति जम्मा ३० प्रतिशत छ।
तत्कालीन जिल्ला विकास समिति छँदै ठेक्कामा गएको उक्त पुल सात वर्ष बित्दासमेत बन्न सकेको छैन। निर्माण व्यवसायीको ढिलासुस्तीका कारण पुल अलपत्र परेको पूर्वाधार विकास कार्यालय मनाङका सब–इन्जिनियर धनबहादुर गुरुङले बताए।
“पुलको दुवैतिर जगमात्र बनेको छ, बाँकी अलपत्र छ”, उनले भने, “निर्माण व्यवसायीलाई पटक-पटक ताकेता गर्दा पनि काम हुनसकेको छैन।”
निर्माण कम्पनी क्याराभानले उक्त पुल निर्माणको जिम्मा पाएको थियो। स्थानीय तह नबन्दै निर्माण सुरु भएको मनाङकै मस्र्याङ्दी नदी पुल पनि वर्षौंदेखि अलपत्र अवस्थामा छ।
यीसहित गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गत १६ पूर्वाधार आयोजना रुग्ण अवस्थामा छन्। यसमा १३ सडक र तीन पुल आयोजना छन्।
पर्वतको मिलचोक-सल्यान-घाहाखेत-धारापानी-ठोटनेरी सडक, स्याङ्जाको मिर्मि-बिर्घा-रानीघाट, वालिङ-काफलडाँडा-रोग्दी-रामपुर सडक, मनाङको दूधखोला र मस्र्याङ्दी नदी पुल र गोरखाको नारेश्वर–पाणिनी–ताकुकोट सडक (दोस्रो खण्ड) अलपत्र छ।
तनहुँको भानुमार्ग-चन्द्रवती-पोखरीछाप-कुन्छाफेँदी जोड्ने सडक, दुलेगौँडा-हर्कपुर मार्ग, रिसिङ-भिरकोट, कृष्णमार्ग (देउराली–केलादीघाट), नवलपुरको मकुन्दुपुर-अहाले-रतनुपर हुँदै बुलिङटार जोड्ने सडक, चिसापानी पक्की पुल, कास्कीको बेगनास भञ्ज्याङ-आनन्दज्योति सडक, फुर्सेखोला-मट्टिखान सडक रुग्ण अवस्थामा छ।
पूर्वाधार विकास कार्यालय बागलुङअन्तर्गत कुश्मिसेरा-राङखानी-नाम्दुक-बरेङ-शान्तिपुर र गलकोट-हरिचौर-हिल-तारा-रुम जोड्ने सडकको काम पनि सुस्तगतिमा भइरहेको छ।
दुवै आयोजना बहुवर्षीय हुन्। बागलुङको गलकोट हुँदै म्याग्दीको रुम जोड्ने ४० किमी सडकमध्ये १० किमी कालोपत्रका लागि विसं २०७६ मा ठेक्का भएर निर्माण अघि बढेको थियो।
निर्माण कम्पनी एपेक्स-खड्का कृष्ण जेभीले दोस्रोपटक म्याद थपिएअनुसार विसं २०७९ पुसदेखि काम सुरु गरेर आउँदो कात्तिक २५ गतेसम्ममा सक्नुपर्नेमा अझै काम सुरु हुनसकेको छैन। रु २४ करोड ७८ लाखको ठेक्कामा बन्न लागेको उक्त खण्डमा अहिलेसम्म जम्मा ५५ प्रतिशतमात्रै भौतिक प्रगति छ।
सडक अलपत्र पारेर निर्माण व्यवसायी सम्पर्कविहीन भएको स्थानीयवासीको गुनासो छ। मन्त्रालयका प्रवक्ता टीकाराम पौडेलले गत वर्ष मन्त्रालयअन्तर्गत ४६ पूर्वाधार आयोजना रुग्ण रहेकामा यो वर्ष घटेर १६ मा आइपुगेको बताए। उनले काम गर्न नसक्ने निर्माण कम्पनीको ठेक्का रद्द गरेर नयाँ प्रक्रिया थालिने उनको भनाइ थियो।
“कतिपय ठेक्काको धरौटी जफत गरिएको छ, केहीमा कारबाहीको प्रक्रिया पनि अगाडि बढेको छ, पटक-पटक ताकेता गर्दा पनि काममा ढिलासुस्ती गर्ने कम्पनीलाई सधैंभर छुट दिन सकिँदैन”, प्रवक्ता पौडेलले भने।
मनाङको मस्र्याङ्दी नदी पुल, गोरखाको नारेश्वर-पाणिनी-ताकुकोट सडक (दोस्रो खण्ड), तनहुँको भानुमार्ग–चन्द्रवती–पोखरीछाप-कुन्छाफेँदी जोड्ने सडक, दुलेगौंडा-हर्कपुर मार्ग, फुर्सेखोला-मट्टिखान सडक ठेक्काको धरौटी रकम जफत गरिएको मन्त्रालयले जनाएको छ। अधिकांश आयोजना निर्माण कम्पनीकै ढिलासुस्तीका कारण अलपत्र परेको मन्त्रालयको भनाइ छ।
भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले रुग्ण आयोजनालाई गति दिइने बताए। “मन्त्रालयको वार्षिक समीक्षामा पनि यो विषयमा गम्भीर ढंगबाट छलफल भएको छ, वर्षौँसम्म काम नभएका आयोजनाको ठेक्का तोडिन्छ”, उनले भने, “आयोजना अलपत्र पार्ने निर्माण व्यवसायीलाई कारबाहीको दायरामा ल्याउन मन्त्रालय स्पष्ट र दृढ छ।” रासस |
उपत्यकामा एकै दिन १०१ फार्मेसीको अनुगमन, १० फार्मेसी सिल काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एकै दिन काठमाडौँ उपत्यकामा एक सय एकवटा औषधि पसलको अनुगमन गरेको छ । अनुगमन टोलीले काठमाडौँ उपत्यकामा नियम विपरीत सञ्चालित १० वटा औषधि पसल सिल गरेको छ भने दुई दर्जनभन्दा बढीलाई सचेत पत्र दिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतको निर्देशनानुसार मन्त्रालयले २० वटा टोली बनाएर आज उपत्यकाका विभिन्न क्षेत्रमा अनुगमन गरेको हो । फर्मासिस्टको प्रमाणपत्र भाडामा लिएर अर्कै व्यक्तिलाई कर्मचारी खटाएको, औषधि व्यवस्था विभागले तोकेको मापदण्ड पूरा नगरेको र अनुमति नलिई औषधि पसल सञ्चालन गरेको गुनासो आएपछि मन्त्री बस्नेतले देशभर अनुगमन गर्न औषधि व्यवस्था विभागलाई निर्देशन दिएका थिए ।
मन्त्री बस्नेत स्वयं अनुगमनमा निस्किएका थिए । अनुगमन टोलीमा औषधि व्यवस्था विभाग, मन्त्रालय र स्वास्थ्य सेवा विभागका विज्ञ कर्मचारी संलग्न थिए । अनुगमन टोलीले आजै साँझ मन्त्री बस्नेतसमक्ष अनुगमन र औषधि पसल सञ्चालनको अवस्थाका विषयमा जानकारी गरायो । अनुगमन टोलीका संयोजकहरूका अनुसार फरक व्यक्तिको फर्मासिस्टको प्रमाणपत्र राखेर औषधि पसल सञ्चालन गर्नेको सङ्ख्या उल्लेख्य छ ।
अनुगमनका क्रममा बिक्री वितरण गर्न अनुमति नलिई ‘न्युटास्युटिकल’ सामग्री बिक्री वितरण गर्ने, म्याद गुज्रिएका औषधिको भण्डार अलग नराख्ने, दर्ता नभएका र सरसफाइमा ध्यान नदिएका औषधि पसल भेटिएका थिए । अनुगमनमा संलग्न डा हेमन्त ओझाले आफूहरूले निरीक्षणका क्रममा दर्ता नगरी सञ्चालनमा रहेका औषधि पसल सिल गरेको बताउनुभयो । “गोकर्णेश्वरमा दर्ता नै नगरिएका औषधि पसल फेला परेपछि दुईवटा सिल नै गरिएको छ”, अर्का टोलीका संयोजक सागर दाहालले जानकारी दिए ।
छलफलमा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले आज गरिएको अनुगमनलाई निरन्तरता दिने बताइ । मन्त्री बस्नेतले विभागमा जनशक्तिको अभाव तत्कालका लागि परिपूर्ति गर्न फार्मेसीमा इन्टर्न गर्न आउनेलाई औषधि विभागमा पठाउन महानिर्देशक ढकालाई निर्देशन दिए । |
१९ राउन्ड गोलीसहित भारतीय नागरिक पक्राउ वीरगन्ज । वीरगन्ज महागरपालिका–१६ भानुचोकस्थित सडक खण्डमा प्रहरीले एक भारतीय नागरिकलाई १९ राउन्ड गोलीसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार पश्चिमी चम्पारण बेतिया लगुनाहा निवासी २२ वर्षीय मुरारी कुशवाहा रहेका छन्।
आइतबार राति साढे ९ बजे प्रहरी चौकी बसपार्कको टोलीले नियमित जाँचको क्रममा एक जना अपरिचित व्यक्ति शंकास्पद रुपमा हातमा झोला बोकेर बसपार्कतर्फ आउँदै गरेको अवस्थामा खानतलासी गर्दा सटगनको गोली बरामद भएको पर्सा प्रहरीले जनाएको छ।
खानतलासी गर्दा १२ शक्तिमान १२ एक्सप्रेस लेखिएको १५ राउन्ड, केएफ १२ लेखिएको ३ राउन्ड र १२ केएफ १२९६ लेखिएको १ राउन्ड गरी १९ राउन्ड सर्टगनको गोली फेला परेको प्रहरीले जनाएको हो। कुशवाहालाई नियन्त्रणमा लिई हातहतियार तथा खरखजानासम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। |
मिटरब्याज विधेयकमाथि सङ्घर्ष समितिको विमति काठमाडौं । मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर सङ्घर्ष समिति नेपालले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि विमति जनाएको छ ।
सङ्घर्ष समितिद्वारा आज आयोजित पत्रकार सम्मेलनमा मिटर ब्याज र अन्य अनुचित लेनदेनका समस्या समाधान गर्न ल्याएको नयाँ कानुन पीडितमैत्री नभएको भन्दै सङ्घर्ष समितिले ५ बुदाँमा विमति जनाएको हो ।
सरकारले ल्याएको उक्त विधेयकमा भूतप्रभावी नभएकाले विगतका लेनदेनका समस्याको न्यायमुखी समाधान हुने नदेखिएकाले पीडितका लागि विशेष व्यवस्था गर्न अपरिहार्य रहेको सङ्घर्ष समितिले जनाएको छ ।
विधेयक पारित हुनुअघिको पुराना लिखतलाई ‘साहु, महाजन र ऋणी वडामा गएर प्रमाणित गराउनुपर्ने’ प्रावधान रहेकामा साहु–महाजन मात्रले प्रमाणित गर्न सक्ने रहेकाले उक्त संशोधन एकपक्षीय हिसाबले पीडितका हितविरुद्ध प्रयोग हुने सम्भावना भएकाले सोही प्रावधान खारेज गरिनुपर्ने समितिकोको माग छ ।
संशोधनअघि मिटरब्याज अपराध प्रमाणित भए सात वर्ष कैद र ७० हजार रुपैयाँ जरिवाना प्रस्तावित भएकामा ‘कसुरको प्रकृतिका आधारमा सजाय र जरिवाना’ को व्यवस्था गर्दै कसुर प्रमाणित गर्ने प्रक्रियालाई जटिल बनाएको र दण्डको प्रावधान कमजोर बनाएको विमति जनाएको छ ।
सङ्घर्ष समितिका अनुसार आर्थिक अपराधमा संलग्न साहु–महानजको सम्पत्ति छानबिन गर्नसक्ने प्रावधानलाई फितलो बनाएको छ । साहु–महाजनले अकुत सम्पत्ति कतै लगानी गरेको पाइए स्वतः सम्पत्ति शुद्धिकरणसम्बन्धी कानुन आकर्षित हुने प्रावधान हटाएर ‘हैसियत हेरेर’ राखिएकामा र साहु–महाजनलाई थप सहुलियत दिन, अनुचित लेनदेन प्रमाणित भएको हक हस्तान्तरण भइसकेका सम्पत्तिसमेत पूरै फिर्ता गरिने व्यवस्था उल्टाएर संशोधनमा ‘हिसाब गरेर मात्र फिर्ता हुने’ प्रावधानमा समितिको विमति छ ।
सम्मेलनमा कानुनविद् रत्नसंसार श्रेष्ठले सरकारले मिटर ब्याजका समस्या सम्बोधन गर्न पहल गरेको बताए । “मिटर ब्याजको समस्या आजको होइन । लामो समयदेखि अल्झिएका समस्यालाई वर्तमान सरकारले आयोग गठन, मस्यौदा तयार गरी समाधान गर्ने पहल गरेको छ,” उनले भने । कानुनविद् श्रेष्ठले उक्त विधेयकले पुराना मिटरब्याजका समस्या समाधान गर्न नसकिने बताउँदै सम्पत्ति शुद्धिकरणमा आबद्धता गरेमा मात्र समस्या समाधान गर्न सकिने बताए ।
बृहत् नागरिक आन्दोलन समाजका अभियन्ता सञ्चिव उप्रेतीले मिटरब्याजसम्बन्धी कानुन स्वागतयोग्य भए पनि अभ्यास पीडितमैत्री नभएको उल्लेख गर्दै सङ्घर्ष समितिले किसान मजदुरलाई विभिन्न शोषणबाट मुक्त गराउन गरेको सशक्त प्रतिरोधमा नागरिक आन्दोलन समाज साथमा रहने बताए । सङ्घर्ष समितिका संयोजक अवधेश कुशवाहाले अपूर्ण अभ्यासले मिटरब्याजको समस्या समाधान हुन नसक्ने बताउँदै यसविरुद्ध तीनै तहबाट सशक्त भएर विरोध गर्ने बताए ।
मिटरब्याज र अन्य अनुचित लेनदेनका समस्या समाधान गर्न ल्याएको नयाँ कानुन पीडितहरूको अपेक्षाविपरीत रहेको उनको भनाइ छ । सङ्घर्ष समितिले पीडितलाई साहु–महाजनबाट मुक्ति दिलाउन कानुनी मात्र नभई राजनीति प्रतिबद्धता आवश्यक रहेको जनाउँदै किसान मजदुरलाई सबै किसिमको आर्थिक, राजनीतिक र सांस्कृतिक शोषणबाट मुक्त बनाउन अब झन् सशक्त प्रतिरोध गर्ने जनाएको छ । |
धरानमा राप्रपाको पदयात्रा, धर्म निरपेक्षताको आडमा भइरहेका अवाञ्छित क्रियाकलाप रोकिनुपर्छ- लिङ्देन सुनसरी । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन सोमबार धरानस्थित पिण्डेश्वर मन्दिरमा आयोजित धार्मिक पदयात्रामा सहभागी भएका छन् ।
हिन्दुराष्ट्र पुनःस्थापनाका लागि भन्दै साउनको दोस्रो सोमबार धरानमा आयोजित पदयात्रापछि बोल्दै अध्यक्ष लिङ्देनले साउन महिनादेखि शुरु हुने गरी पार्टीले नविन राप्रपा कार्ययोजना लागू गरेको बताउँदै यस योजना कार्यान्वयनका लागि देशका सबै स्थानीय तहमा ९०० जना नेताहरू परिचालित भएको बताए ।
‘मेरो कार्यक्षेत्र धरान उपमहानगरपालिका परेको छ, आजैबाट कार्य प्रारम्भ गरेको छु,’ उनले भने। उनले संगठनात्मक कार्ययोजना शुरु गर्ने क्रममा धरान उपमहानगरपालिका वडा नं १४को विजयपुरमा रहेको पिण्डेश्वर मन्दिरमा धार्मिक गतिविधिमा सहभागी भएको समेत बताए।
लिङ्देनले ०६२/०६३ को राजनीतिक परिवर्तनपछि जनचाहनाविपरीत, बहुसंख्यक जनताको भावनाविपरीत जबर्जस्ती धर्मनिरपेक्षता कायम गर्दाको दुष्परिणाम देशमा यतिबेला देखिन थालेको बताए ।
धर्म निरपेक्षताले देशको दीर्घकालीन हित असम्भव छ, नेपालको स्वतन्त्रता, पहिचान, एकता, सामाजिक सदभावका लागि हिन्दुराष्ट्र अपरिहार्य छ, धर्म निरपेक्षले देश बर्बाद पार्ने देखेर नै आफू किराँत धर्मावलम्बी भएर पनि हिन्दुराष्ट्रको वकालत गरिरहेको लिङ्देनले बताए। उनले धर्म निरपेक्षताको आडमा भइरहेको अवाञ्छित गतिविधि नियन्त्रण गरिनुपर्ने बताएका छन् ।
लिङ्देन नेतृत्वको पदयात्रा पिण्डेश्वर मन्दिर, विजयपुरमा रहेका दन्तकाली, बुढाुब्बा मन्दिरमा समेत पुगेको थियो । सो अवसरमा राप्रपाका कार्यकर्ता, विभिन्न धार्मिक संघसंस्था र धर्मप्रति आस्था राख्नेहरुको उल्लेख्य उपस्थिति रहेको थियो । |
‘दिवा खाजा कार्यक्रम’ नेपालमा सफल : प्रधानमन्त्री प्रचण्ड काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बालबालिकाका लागि विद्यालयमा सञ्चालन गरिएको ‘दिवा खाजा कार्यक्रम’ नेपालमा सफल भएको बताएका छन् । सो कार्यक्रमबाट हरेक दिन देशभरका बालबालिका प्रत्यक्ष रुपमा लाभान्वित भइरहेको तथ्य पेस गर्दै प्रधानमन्त्री दाहालले त्यस कार्यक्रमलाई निरन्तरता दिन सरकारले पछिल्लो पाँच वर्षमा चार गुणा बजेट वृद्धि गरेको जानकारी गराए ।
खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा आयोजित ‘युनाइटेड नेसन्स फुड सिस्टम–२०२३ स्टकिङ मोमेन्ट’ लाई आज सम्बोधन गर्दै उनले नेपालमा लागू गरिएको विद्यालय खाजा कार्यक्रम विद्यार्थीको स्वास्थ्य र समग्र शैक्षिक सुधारका लागि प्रभावकारी भएको स्पष्ट पारे । सो कार्यक्रमबाट प्रत्यक्ष रूपमा ३३ लाख बालबालिका प्रत्यक्ष रूपमा लाभान्वित भएको तथ्याङ्कसमेत प्रधानमन्त्री दाहालले पेस गरे ।
“विद्यालय खाजा कार्यक्रम नेपालको एउटा सफल कार्यक्रम हो । यसबाट नेपालमा हरेक दिन ३३ लाख विद्यार्थी लाभान्वित भइरहेका छन्”, प्रधानमन्त्री प्रचण्डले भने, “फलस्वरूप विद्यार्थी भर्नामा वृद्धि, नियमित उपस्थिति र शैक्षिक सुधारजस्ता उपलब्धि हासिल भएको छ ।”
सो कार्यक्रमलाई एकीकृत रूपमा कृषि, शिक्षा, खाद्य सुरक्षा, पोषण, स्वास्थ्य र सरसफाइसँग जोडिएको प्रधानमन्त्री दाहालको भनाइ छ । उनले चालु आर्थिक वर्षको शिक्षा तर्फको बजेटको कूल ६ प्रतिशत दिवा खाजाका लागि वृद्धि गरिएको उल्लेख गरे ।
उनले सन् २०२१ को खाद्य सम्मेलनपछि नेपालले स्थानीयस्तरसम्म खाद्य प्रणालीका बारेमा छलफल चलाएको एवं सन् २०२२ देखि २०३० सम्मका लागि खाद्य प्रणाली रूपान्तरण रणनीतिक योजना तय गरेको जानकारी दिए । खाद्य प्रणालीको रूपान्तरण खाद्य सुरक्षाका लागि मात्र नभई दिगो विकास लक्ष्यको पूर्ण प्राप्तिका लागि महत्त्वपूर्ण रहेको उनको भनाइ छ ।
संयुक्त राष्ट्र सङ्घले सन् २०२१ मा आयोजना गरेको फुड सिस्टम समिटले तय गरेको विधिअनुसार राष्ट्रिय र प्रदेश तहका सरोकारवालाहरूका बीचमा खाद्य प्रणालीका बारेमा बुझाउन, कमजोरी पत्ता लगाउन र त्यसलाई रुपान्तरण गरी नयाँ मार्ग प्रशस्त गर्न सहयोग पुगेको प्रधानमन्त्री दाहालको भनाइ छ । सरकारले सोही आधारमा खाद्य प्रणाली रुपान्तरण रणनीतिक योजना तय गरेर कार्यान्वयनमा ल्याइएको र त्यसलाई दिगो विकास लक्ष्यसँग जोडिएको उनले बताए ।
स्थानीय सरकारको क्षमतालाई सुदृढ गर्दै सो कार्यक्रम कार्यान्वयन र अनुगमनका लागि जिम्मेवारी प्रदान गरिएको प्रधानमन्त्री दाहालले जानकारी दिए । दिवा खजा कार्यक्रमले विद्यार्थीको प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने, स्वास्थ्य, शैक्षिक क्रियाकलापमा गुणात्मक परिवर्तन ल्याउने भएकाले यसका प्रयासहरूलाई दोब्बर बनाउनुपर्ने स्पष्ट पारे । उनले भने, “विद्यालयको खाना यस्तो क्षेत्र हो जसले रूपान्तरणमा ठूलो प्रभाव पार्छ ।”
सन् २०२० को सुरुआतीमा संसारका धेरै बालबालिकाले विद्यालय भोजनको सहज पहुँच प्राप्त गरेको भए पनि कोभिड–१९ का कारण विश्वव्यापी रूपमा आपूर्ति शृङ्खलामा आएको अवरोध, वित्तीय क्षेत्र खस्कँदा समस्या पैदा भएको प्रधानमन्त्री दाहालको भनाइ थियो । पुरानै अवस्थामा फर्कनका लागि सम्पन्न र विकसित देशले साना र अल्पकविकसित मुलकहरूको शैक्षिक सुधारका लागि दिवा खाजा कार्यक्रमलाई प्रवर्द्धन गर्नुपर्नेमा उनले जोड दिए ।
दिवा खाजा कार्यक्रमले विद्यार्थीको स्वास्थ्य, शैक्षिकका साथसाथै उनीहरूको समग्र विकास क्रममा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उनले विश्वास व्यक्त गरे । प्रधानमन्त्री दाहालले अति कम विकसित र अल्पविकसित मुलुकका विद्यार्थीले विद्यालय छाड्ने दरमा कमी ल्याउनका लागि पनि सो कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याए ।
सन् २०२६ सम्म नेपाल विकासोन्मुख देशका रुपमा स्तरोन्नति हुने क्रममा रहेको जानकारी दिँदै उनले विद्यालयमा पोषणयुक्त खानेकुराको सुनिश्चिता गर्नु आवश्यक रहेको र त्यसका लागि स्थानीय खाद्य सामग्रीको उत्पादन र विविधकरणमा जोड दिएको बताए ।
स्थानीय रूपमा साना स्तरका कृषि विकास कार्यक्रमलाई अगाडि बढाइ विद्यार्थीको स्वास्थ्य, पोषण र शिक्षामा सुधार ल्याउनका लागि सहयोग गरिरहेको प्रधानमन्त्री दाहालको भनाइ छ । उनले सन् २०३० सम्म दिगो विकासका लक्ष्य हासिल गर्नका लागि हाम्रा खाद्य प्रणालीको रुपान्तरणका लागि संयुक्त राष्ट्रसङ्घीय प्रणाली, विकास साझेदार र सरोकारवाला निकायहरूको पूर्ण सहयोग र प्रतिबद्धताको प्रसंशा गरे । प्रधानमन्त्री प्रचण्डले हाम्रा बालबालिकाका लागि दिगो भविष्य, गुणस्तरीय शिक्षा, पोषणयुक्त खानेकुरा उपलब्ध गराउने रुपान्तरणकारी यात्राका लागि हामी सबैले होस्टेमा हैंसै गर्दै अगाडि बढ्न आह्वान गरे ।रासस |
चितवनमा बाघको आक्रमणबाट युवाको मृत्यु चितवन । पश्चिम चितवनको कोटेनीमा बाघको आक्रमणबाट एक युवाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२८ कोटेनीमा माछा मार्न गएका युवालाई आज दिउँसो बाघले आक्रमण गर्दा मृत्यु भएको हो ।
मृत्यु हुनेमा स्थानीय २६ वर्षीय आशबहादुर बोटे रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए । उनका अनुसार चितवन राष्ट्रिय निकुञ्जबाट निस्किएको बाघले आक्रमण गर्दा बोटेको घटनास्थलमानै मृत्यु भएको हो । बोटेको शवपरीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ । |
नेपालगञ्जमा अब डुबानको समस्या अन्त्य हुने खजुरा। नेपालगन्जमा वर्षौँदेखि डुबानको समस्या अन्त्य गर्न सुर्खेत रोडस्थित मुख्य नाला रहेको पुलको निकासलाई फराकिलो पार्न थालिएको छ।
केही वर्ष अगाडि निर्माण भएको करिब ८–१० मिटरको नालाको बीचको भागबाट निकास तीन मिटर मात्र बनाएपछि पानी थुनिएर बर्सेनि नेपालगन्ज नगर डुबानमा पर्ने समस्या हुँदै आएकामा अहिले समस्या समाधान गर्न नाला निर्माण थालिएको नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले बताए।
पहिला निर्माण गर्ने कम्पनीको लापरबाहीका कारण नाला फराकिलो भए पनि बीचको भाग तीन मिटरको साँगुरो बनाएका कारण नेपालगन्जवासीले सास्ती भोग्दै आएका थिए। प्रतिनिधिसभा सदस्य लक्ष्मी तिवारीको विशेष पहलमा उक्त समस्याबारे केन्द्रीयस्तरसम्म पहल गरिएपश्चात् सो नाला निमार्ण थालिएको स्थानीयवासीले बताए।
वर्षौंदेखिको डुवानको समस्याबारे नेपालगञ्ज सेतु विकचोकस्थित होटल व्यवसायी गोपाल गिरीलगायत स्थानीयवासीले पटक–पटक नेपालगञ्ज उपमहानगरपालिका, सडक डिभिजन लगायतसँग आग्रह गर्दासमेत कुनै सुनुवाइ नभएकामा पछि सांसद तिवारीले यो सवाललाई सङ्घीय सरकारसमक्ष पुर्याए पछि निमार्णको कार्य अघि बढेको हो।
उनले नेपालगन्ज–सुर्खेत रोड सडक खण्डअन्तर्गत मुख्य नालाको निकास फराकिलो नहुँदा पानी थुनिएकाले पुललाई फराकिलो बनाएर निकास दिने काम थालिएको बताए। संसाद तिवारीले भने, “नेपालगन्ज सहरको मुख्य समस्या ढल निकास र डुबानलाई दीर्घकालिनरूपमा समाधान गर्नुपर्दछ, त्यसका लागि मेरोतर्फबाट पहलभयो।”
चारदिन अघि पुल चौडा गर्न काम सुरु भएको नेपालगन्जपस्थित सडक डिभिजन कार्यालय प्रमुख निरज शाक्यले बताए। उनकाअनुसार नालाको चौडाई बढाउन रु ३२ लाख ५ हजार ४५२ को लागतमा कार्की सच्ची जेभी कन्स्ट्रक्सन ले ठेक्का लिएको छ।
नालाबाट पानी बग्ने ढललाई चौडा बनाएपछि वर्षाको समयमा नेपालगन्ज सहर डुब्ने समस्या अब अन्त्य हुनेछ। नेपालगन्ज नगर भित्रका प्रायः करिब ८० प्रतिशत सडक तथा नाला निमार्ण भईसकेकाले वर्षाको समयमा पानी परेर जम्मा हुने र प्रर्याप्त पानीको निकास थुनिएपछि सहर डुबानमा पर्ने समस्या अब समाधान हुनेछ। |
बाढीपहिरोका कारण म्याग्दीका ग्रामीण सडक अवरुद्ध, यात्रु मर्कामा गलेश्वर। बाढीपहिरोका कारण म्याग्दीका ग्रामीण सडक अवरुद्ध हुँदा पैदलयात्रा गर्न र यातायातका सवारीसाधन सञ्चालनमा समस्या भएको छ। सडक बिग्रिएपछि ग्रामीण क्षेत्रमा सञ्चालित यातायात सेवा पूर्ण रूपमा प्रभावित हुँदा यात्रु मर्कामा परेका छन्।
भएका सडकको स्तरोन्नति गर्नुभन्दा नयाँ सडक निर्माण प्राथमिकतामा पर्ने गरेकाले जिल्लाका अधिकांश ग्रामीण सडक वर्षाको समयमा अवरुद्ध हुने गरेका हुन्। सडकमा खाल्टाखुल्टी हुनुका साथै हिलोका कारण जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको स्थानीय बताउँछन्। जिल्लाको देविस्थान, मुदी, मुना, ओखरबोट, दिच्याम, रुम, निस्कोटलगायत क्षेत्रका ग्रामीण सडक अवरुद्ध बनेका छन्।
पहिरोका कारण यातायातका साधन सञ्चालनमा कठिनाइ भएको दरवाङ–ओखरबोट सडकमा जीप चलाउँदै आउनुभएका विकल पुनले बताउनुभयो । उहाँका अनुसार अवरुद्ध सडक सञ्चालन गर्न स्थानीयले दबाब दिँदै आएका छन्।
बर्षाको समयमा कच्ची सडक सञ्चालनमा कठिनाइ हुने गरेको मालिका गाउँपालिका–५ देविस्थानका वडाध्यक्ष मीम पुनले बताए। “ग्रामीण सडक वर्षाको समयमा जति मर्मत गरे पनि एक दिनको झरीले पूरै बिग्रिने भएकाले तत्काल सञ्चालन गर्न समस्या छ”, उनले भने, “अहिले अनावश्यकरुपमा रकम खर्च गर्नुभन्दा वर्षायाम सकिएपछि सडक स्तरोन्नति गर्दा प्रभावकारी हुने भएकाले वर्षापछि मर्मत गर्ने तयारी गरिरहेका छौँ।”
त्यस्तै, धवलागिरि र मंगला गाउँपालिकाका अधिकांश सडक अवरुद्ध बनेका छन्। सडक अवरुद्ध भएपछि गाउँमा उत्पादन भएका कृषि उपजलाई बजारसम्म पुर्याउन समस्या भइरहेको स्थानीयले बताएका छन्।
मालिका गाउँपालिका–५ देविस्थान र ३ रुममा उत्पादन भएका आलु तथा तरकारीका साथै जङ्गलमा सङ्कलन गरिएका रातो च्याउ बजारमा पुर्याउन समस्या भएको किसान प्रेम सिउथानी मगरले बताए।
“मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि वडा नं ५ को देवीस्थान जाने सडकमा यातायातका साधन नगुडेको डेढमहिना भयो”, उनले भने, “सामान्य वर्षा हुँदासमेत बाटो बिग्रिएपछि दरवाङबाट चारघण्टा पैदल हिँडेर स्थानीय जाउआउ गर्न बाध्य भएका छन्।”
गाउँपालिका र नगरपालिकाबाट बजेट विनियोजन गरी निर्माण भएका अधिकांश सडक पहिराका कारण अवरुद्ध भएका दरवाङका व्यवसायी अमृत सापकोटाले बताए। पालिकाले करोडौँ बजेट विनियोजन गरेर गाउँमा सडक खने पनि गाडी नचल्दा आवागमनमा सास्ती खेप्नु परेको उनको भनाइ छ। उपभोक्ता समितिमार्फत निर्माण भएका धेरै सडक बिना नापजाँच खनिएकाले वर्षामा खाल्डाखुल्डीका कारण गाडी गुड्ने अवस्थामा नभएको सापकोटाले बताए।
“डेढदशक अगाडिसम्म यहाँका ग्रामीण क्षेत्रमा बेग्लै रौनक थियो। बस्ती मोटरबाटोले जोडिएका थिएनन्। सदरमुकाम बेनी बजारबाट गाउँ उक्लिन घोडा चढ्नु पथ्र्यो वा पैदल हिँड्नुपथ्र्यो। भारी बोक्ने भरिया र घोडा खच्चडको बथानले बाटो रमाइलो हुन्थ्यो”, उनले भने, “अहिले जिल्लाका सबै वडा तथा टोलटोलमा सडक पुगेको छ। स्थानीय सरकारको स्थापनापछि पहिलो प्राथमिकतामा सडक परेको छ।” धवलागिरि गाउँपालिका–१ गुर्जामा बाहेक बस्तीबस्तीमा सडक पुगेको उनको भनाइ छ।
पाँच वर्षको अवधिमा संघ, प्रदेश र स्थानीय तहको बजेटबाट जिल्लाका छ स्थानीय तहमा ७४ ग्रामीण सडक निर्माण भएका जिल्लास्थित पूर्वाधार विकास कार्यालयको तथ्याङकमा उल्लेख छ। सडक विस्तारले ग्रामीण जनजीवनमा विकास र परिवर्तनत ल्याए पनि प्राकृतिक स्रोतको विनास पनि गरेको स्थानीय बताउँछन्।
ग्रामीण सडक स्तरोन्नति हुँदा ऐतिहासिक र पुरातात्विक सम्पदा नासिनुका साथै वर्षाको समय ती सडकमा ठूला–ठूला पहिरो जाँदा मानवीय तथा भौतिक क्षति भइरहेको बेनी बजारका नैनकुमार श्रेष्ठले बताए। “बिना इञ्जिनियरिङ धमाधम निर्माण भएका सडकले गाउँको सुन्दरता घटाएको छ भने पर्यावरणमा पनि नकारात्मक असर पुर्याइरहेको छ”, उनले भने।
स्थानीय तहले प्रत्येक हरेक वर्ष सडक निर्माणका लागि करोडौँ बजेट खर्च गरे पनि सडक गुणस्तरीय नहुँदा स्थानीयले सास्ती भोग्नु परेको श्रेष्ठको भनाइ थियो। उनका अनुसार ग्रामीण क्षेत्रका धेरैजसो सडकमा वर्षा सुरु भएपछि गाडी सञ्चालन हुन नसक्दा दैनिक उपभोग्य सामान बोकेरै ल्याउनुपर्ने बाध्यता छ।
“सदरमुकाम बेनी बजार र नगरपालिका क्षेत्रमा मात्रै नभई पाँच वर्ष अघिसम्म निकै दुर्गम र अनकण्टार मानिएका ठाउँमा समेत अहिले सडक पुगेको छ”, श्रेष्ठले भने, “सडकले गाउँका नागरिकलाई सुविधासँगै सास्ती पनि दिएको छ। वर्षाको समयमा सडकका कारण पनि बाढीपहिरोको जोखिम बढेको उनले बताए। – रासस |
ओझेलमा ‘सेतो सुन’ झापा। विश्वबजारमा ‘सेतो सुन’का रुपमा चिनिएको प्राकृतिक रबरको खेती झापामा सुरु भएको ३३ वर्ष भइसक्यो। शनिश्चरेको सुधा फलरस कम्पनीमार्फत ढकाल परिवारले रबर खेती सुरु गरेका थिए। अहिले पाँच जिल्लाका १८ पालिकामा यसको विस्तार भइसकेको छ।
बर्सेनि अर्बौं रुपैयाँमा विदेशबाट आयात हुने रबर र रबरजन्य वस्तुलाई प्रतिस्थापन गरी स्वदेशी अर्थतन्त्रलाई बलियो तुल्याउने सामथ्र्य बोकेको रबर खेती झापामा २०४७ सालमा सुरु भएको थियो। विसं २०४१ मा सरकारले गोरखामा गोरखकाली रबर उद्योग स्थापना गरेपछि त्यसको कच्चा पदार्थमा आत्मनिर्भर हुनका लागि झापामा रबर खेतीको थालनी भएको थियो।
तर, गोरखकाली रबर उद्योगलाई राज्यले व्यवस्थित ढंगले सञ्चालन गर्न नसक्दा उद्योग मात्र बन्द भएन, मुलुककै अर्थतन्त्रलाई कायापलट गर्नसक्ने रबर खेतीको विस्तार अपेक्षित गतिमा हुन सकेन।
धेरैले रबर भन्ने बित्तिकै टायर र ट्युबमा प्रयोग हुने लचिलो वस्तु मात्र सम्झन्छन्। तर, हवाइजहाजको टायरदेखि परिवार नियोजनको साधन कन्डमसम्ममा रबरको प्रयोग भएको हुन्छ भन्ने धेरैलाई थाहा नहुन सक्छ। विश्वमा रबरको प्रमुख स्रोत पेट्रोलियम पदार्थ हो।
रबरको अर्को स्रोत प्राकृतिक रबर हो। वृक्षबाट उत्पादन हुने भएकाले यसलाई प्राकृतिक रबर भनिएको हो। रबर रुखमा फल्छ भन्दा आश्चर्य लाग्न सक्छ। रोपिएको बिरुवाले पाँच वर्षपछि लहिनो गाई झैं चोप (दूध जस्तै सेतो तरल पदार्थ) दिन थाल्छ। चालीस वर्षसम्म यसको उत्पादकत्व उर्वर नै हुने विज्ञहरु बताउँछन्।
रबरको रुखबाट निस्कने दूध जस्तो बाक्लो चोपलाई ‘लेटेक्स’ भनिन्छ। प्रत्येक रुखको फेदमा बोक्रा चिरेर (ट्यापिङ) बटुकामा चोप संकलन गरिन्छ। चोपलाई फर्मिक एसिड मिसाएर रासायनिक प्रक्रियाले दही जस्तो जमाइन्छ र रोलर मेसिनमा हालेर रबरको रोटी (सिट) बनाइन्छ। ‘स्मोक हाउस’मा सुकाएपछि बन्ने रबरको रोटी (सिट)लाई प्रशोधित रबर मानिन्छ । बजारमा यसको मूल्य र माग उच्च रहेको छ।
डाक्टरले लगाउने पञ्जा, मेसिनका वासरलगायत हजारौं प्रकारका मूल्यवान सामान यही प्राकृतिक रबरबाट बन्ने गर्दछ। बलियो र वातावरणमैत्री हुने भएकाले विश्वभर पेट्रोलियम रबरको तुलनामा प्राकृतिक रबरको माग बढिरहेको छ।
भारत, चीन, मलेसिया, इन्डोनेसिया, थाइल्यान्ड, भियतनाम जस्ता मुलुकहरु प्राकृतिक रबरको उत्पादनमा अग्रणी रहेका छन्। समुन्द्र सतहको ५०० मिटरसम्मको उचाइ भएको उष्ण तथा समशितोष्ण हावापानी क्षेत्रमा रबरको खेती फस्टाउँछ।
विभिन्न अध्ययनहरुले नेपालको चुरे तथा मधेशका पानी नजम्ने जग्गामा रबर खेतीको अथाह सम्भावना रहेको पुष्टि गरेका छन्। विसं २०७० मा कृषि विकास मन्त्रालयको बाली विकास निर्देशनालयले यस विषयमा एउटा अध्ययन गरेको थियो।
यस अध्ययनले नेपालको पूर्वीभागको चुरे तथा मधेश क्षेत्रमा पर्ने झापा, मोरङ, इलाम, सुनसरी, उदयपुर, सिन्धुलीलगायतका जिल्लाको १४ हजार हेक्टर खाली जग्गामा ‘क’ क्षेत्रीको रबर खेती गर्न सकिने निष्कर्ष निकालेको थियो।
प्रतिहेक्टर एक हजार ८०० केजी प्रशोधित रबर उत्पादन लक्ष्य राख्दा ती क्षेत्रमा वार्षिक दुई करोड ५२ लाख केजी (२५ हजार मेट्रिक टन) उत्पादन हुने र त्यसको बिक्रीबाट रु. छ अर्बभन्दा बढी आम्दानी हुनसक्ने देखिन्छ । पछिल्ला अध्ययनहरुले नेपालमा रबर खेतीको फाइदा र सम्भावना अझ धेरै रहेको औंल्याएका छन् ।
रबर बैज्ञानिक एवम् इन्स्टिच्यूट अफ रबर रिसर्च नेपालका कार्यकारी निर्देशक तिलक भण्डारीले नेपालमा वार्षिक ४० हजार मेट्रिक टन प्रशोधित रबर उत्पादन हुनसक्ने बताउँछन्। दुई चरणमा थप ३० हजार हेक्टर जग्गामा रबर खेती गर्न सकिने उहाँको भनाइ छ।
“नेपालमा रबर खेतीको सम्भावनालाई सरकारले बेलैमा बुझ्न नसक्दा हाम्रो अर्थतन्त्रले आत्मनिर्भरताको नयाँ गति लिने सम्भावनाबाट हामी टाढिदै गएका छौँ,” नेपालमा रबर खेतीको थालनीदेखि नै रबर खेती अनुसन्धाताको रुपमा कार्यरत भण्डारीले भने –“एउटा सरकारलाई कुरा बुझायो, अर्को सरकार फेरिन्छ। एउटा मन्त्रीलाई नीतिगत अवधारणा सम्झायो, अर्को मन्त्री फेरिइसक्छ। सरकार बदलिए पनि कृषि विकास सम्बन्धी दिगो र प्रभावकारी नीति नबन्दा निराश भएका छौं।”
उनका अनुसार सरकारलाई बुझाएको प्रतिवेदनमा पहिलो पाँच वर्ष १५ हजार हेक्टरमा र अर्को पाँच वर्षमा थप १५ हजार हेक्टर रबर खेती लगाउन सुझाव दिइएको छ। अहिले भारतलगायतका मुलुकबाट रबर आयात भइरहेकामा योजनाबद्ध रुपमा रबर खेतीको विस्तारमा लाग्ने हो भने एक दशकमै नेपाल रबरमा आत्मनिर्भर भएर यसको निर्यात गर्ने मुलुक बन्ने भण्डारी बताउँछन्।
झापामा सुधा फलरस र एग्रो फरेस्ट्री प्रोमोसन केन्द्र, मोरङमा मोरङ क्यानिङ कम्पनी, इलाममा चिया विकास निगमले ठूलो क्षेत्रफलमा रबरको व्यावसायिक खेती गर्दै आएको छ।
नेपालमा भइरहेको रबर खेतीको अधिकांश हिस्सा झापा र इलामले ओगटेको छ। झापा १०२ जना साना किसानले रबर खेती गरिरहेका छन् भने केही चिया बगान र सामुदायिक बनले ठूलो क्षेत्रफलमा रबरका विरुवा हुर्काएका छन्।
साना किसान प्राकृतिक रबर उत्पादक संघका केन्द्रीय उपाध्यक्ष तथा झापा रबर जोनका पूर्व अध्यक्ष शान्तिराम चिमरियाले झापामा ६०० बिगाहाभन्दा बढी क्षेत्रफलमा रबर बगान रहेको बताए।
धाइजन पशुपालन तथा रबर उद्योग प्रालिका अध्यक्ष समेत रहेको चिमरिया आफैले तीन बिगाहा निजी जग्गामा एघार सय वटा रबरका बोट हुर्काएका छन्। मेचीनगर–१२ मा रहेको उहाँको बगानका ६०० बोटले मात्र चोप (दुध) दिन्छन्। अरु विरुवा आगामी वर्षदेखि उत्पादनयोग्य हुने उनले बताए।
“एक बिगाहामा मुस्किलले रु. ५० हजारको धान फल्छ, चिया खेती गर्दा पनि त्यति धेरै फाइदा भएन,” डेढ दशकदेखि रबर खेती अभियानमा होमिनु भएको चिमरिया भन्छन्, “अहिले रबर खेती लगाउँदा प्रति बिघा रु चार लाख मुनाफा भइरहेको छ। रबर खेतीसँगै मौरीपालन गर्न सकिने र तीन दशकपछि रबरको काठसमेत महँगो मूल्यमा बिक्री हुने रहेछ।”
उनले फाइदै फाइदा देखेर चिया बगान मासेर रबर खेती थालेका हुन्। हाल उनले सयौँ किसानलाई रबर खेतीमा लाग्न प्रोत्साहन दिइरहनु भएको छ भने रबर प्रशोधन कारखानासमेत सञ्चालन गरेका छन्।
नेपाल चिया विकास निगमको इलामस्थित चिलिमकोट बगानको तीन सय बिघा खाली जग्गामा रबर खेती लगाइएको छ। माई नगरपालिकामा रहेको यो नेपालकै सबैभन्दा ठूलो रबर बगान हो।
यसैगरी, झापाको भद्रपुर नगरपालिका–४ रङ्गेडाँडा क्षेत्रमा एग्रो फरेस्टी प्रालिले कबुलियत वनभित्र १४० बिगाहा क्षेत्रफलमा रबर खेती लगाएको छ। प्रालिको रबर बगान इञ्चार्ज पीटी भुटियाले नेपालकै सबैभन्दा ठूलो रबर नर्सरी समेत सञ्चालित छ।
यहाँबाट वार्षिक १० हजार बिरुवा उत्पादन गर्दै आएको र किसानको मागअनुसार जति पनि धेरै बिरुवा उत्पादन गर्न सकिने भुटियाले बताए। प्रालिको बगानभित्र १७ हजार रबरका बोटबाट उत्पादन भइरहेको छ। वार्षिक ४२ हजार केजी प्रशोधित रबर यहाँ उत्पादन हुँदै आएको छ।
नेपाल सरकारले नै रबर खेतीलाई सुरुवाती दिनहरुमा प्रवद्र्धन गरे तापनि पछिल्ला वर्षहरुमा राज्यले किसानलाई अनुदान दिन कञ्जुस्याइँ गर्दै आएको छ। धाइजन पशुपालन तथा रबर उद्योगका सञ्चालक शान्तिराम चिमरियाले संघीय सरकारले कहिले थोरै र कहिले धेरै अनुदान दिने गरेको जनाउँदै स्थानीय सरकारबाट भने चासोसम्म नदेखाइएको गुनासो व्यक्त गरे।
झापाको रतुवामाई वृक्षारोपण क्षेत्र र सामुदायिक बनहरुको खाली हजारौं हेक्टर जग्गामा रबर खेती लगाउन सकिने सम्भावना रहेको उनी बताउँछन्। तर स्थानीय तह र वन कार्यालयले रबर खेतीको सम्भावनालाई बेवास्ता गर्दै आएको छ।
झापा रबर जोनलाई आव २०७९/८० मा रबर खेती विस्तारका लागि रु. पाँच लाख मात्र बजेट छुट्याइएको थियो। दुई वर्षअघि आफु झापा रबर जोनको अध्यक्ष रहँदा सरकारले रु. एक करोड बजेट दिएको थियो । उक्त बजेट रबर खेतीको विस्तार र प्रशोधनका लागि यान्त्रीकरणमा उपयोग गरिएको उनले बताए।
आव २०७९/८० मा झापाका ११ पालिकालाई रबर खेती प्रवद्र्धनका लागि रु २५ लाखका दरले संघीय सरकारले बजेट विनियोजन गरेको थियो। तर, स्थानीय पालिकाहरुले बजेट कटौतीमा परेको भनेर सो रकम किसानहरुलाई उपलब्ध गराएनन्।
झापामा कनकाई रबर उद्योग र धाइजन चिमरियाले नै पशुपालन तथा रबर उद्योग सञ्चालनमा छन्। दुई वर्षअघि रु १५ करोडको लगानीमा पाँच जना युवा मिलेर सुरु गरेको कनकाई रबर उद्योगले हाल जुत्ता चप्पलको सल, पैसा तथा महिलाहरुले कपाल बाँध्ने रबर, पञ्जालगायतका सामग्री बनाउँदै आएको छ। |
साउनको दोस्रो सोमबार : पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड काठमाडाैं। सौरमासअनुसार साउनको दोस्रो सोमबार आज बिहानैदेखि पशुपति क्षेत्रमा भक्तजनको भीड लागेको छ।
भक्तजनलाई सुविधा दिने उद्देश्यले पशुपति क्षेत्र विकास कोषले बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुला गरेको संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशंकर पराजुलीले जानकारी दिए। पशुपति क्षेत्रमा अहिले पनि लाखौँ भक्तजन पूजा, आरधना एवं दर्शनका लागि लाममा बसेका छन्।
सोमबारका अवसरमा आज पशुपतिनाथमा विशेष पूजा आराधनाका लागि १०१ भक्तजनले रसिद काटेको पनि उनले बताए।
यसैबीच साउने सोमबारका अवरमा आज बिहान भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले पूजा, आरधना एवं दर्शन गरेकाे कोषले जनाएको छ। यसैगरी पूर्व मुख्यसचिव लोकदर्शन रेग्मीले पनि पशुपतिनाथ मन्दिरमा दर्शन गरेका छन्।
आजै प्रधानन्यायधीश हरिकृष्ण कार्कीले पशुपतिनाथ मन्दिरमा दर्शन गर्ने कार्यक्रम रहेको छ। बेलुकीको आरतीमा मुख्यसचिव डा वैकुण्ठ अर्याल सहभागी हुने कार्यक्रम रहेको पनि जनाइएको छ।
पशुपतिनाथमा सुन्दरीजलबाट शुद्ध जल ल्याएर अर्पण गर्ने बोलबम यात्रीको पनि आज भीड लागेको छ। बोलबम यात्री शुद्ध जल लिने आइतबार बेलुकी नै सुन्दरीजल गएर बसेका थिए।
साउन महिना र सोमबार भगवान् शिवको महिना एवं बार भएकाले शिवालयमा पूजा, आराधना गर्ने वैदिक कालदेखिको परम्परा छ । यस वर्ष साउन २ गतेदेखि अधिकमास सुरु भएकाले साउन महिनाको सोमबार व्रत बस्नु हुने वा नहुने भन्नेमा धर्मशास्त्रीबीच मतान्तर छ। जसका कारण गत हप्ताअर्थात् साउन १ गते सोमबारभन्दा भक्तजनको सङ्ख्या केही घटेजस्तो देखिन्छ।
पशुपति क्षेत्रमा समग्रमा दर्शनार्थीको सङ्ख्या नघट पनि सोमबारको व्रत बस्ने महिलाको सङ्ख्या भने कम देखिएको महाशाखा प्रमुख पराजुलीले बताए। यस वर्ष साउन महिनामा पाँच वटा सोमबार परेका छन्। साउनको १, ८, १५, २२ र २९ गते सोमबार परेको छ। साउन १ गतेबाहेकका सबै सोमबार भने अधिकमासभित्र परेका छन्।
प्रत्येक वर्ष साउन महिना र सोमबार भगवान् शिवजीको विशेष पूजा, आराधना गर्ने महिना एवं बार भएकाले व्रत गर्न हुने भन्ने मान्यताका आधारमा अन्य शिवालयमा पनि भक्तजनको भने भीड देखिन्छ ।
राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेवलगायत महादेव मन्दिरमा पनि भक्तजनको भीड लागेको छ।
यसैगरी देशभरका अन्य शिवालयमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ। साउनको सोमबारको व्रत गर्ने भक्तजनले पाँच वटै सोमबारको व्रत पूरा गरी उद्यापनका लागि अन्तिम सोमबार गोदान र पूर्णपात्र गर्ने विधि रहेको छ। रासस |
पहिराले घर पुरिएर आमाछोराको मृत्यु, तीनजना घाइते बैतडी। पहिराले घर पुरिँदा बैतडीमा आमाछोराको मृत्यु भएको छ।
मृत्यु हुनेमा जिल्लाको पुर्चाैडी नगरपालिका–२ भैरु टोलका २४ वर्षीया अञ्जु जागरी र ४ वर्षीय रिजन रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए।
आज बिहान ३ बजे घरमाथिबाट खसेको पहिराले घर पुँरिदा घरभित्र सुतिरहेका उनीहरुको मृत्यु भएको हो। पहिराले पुरेर १८ वर्षीय गोब्बर जागरी, ४५ वर्षीया राइमती जागरी र ६० वर्षीया जस्मा बोहरा घाइते भएका छन्। पहिराले घर र पशुचौपायामा पनि क्षति पुगेको छ। |
पृथ्वीचोकदेखि सेतीपुलसम्मको सडकमा पार्किङ गर्न रोक कास्की। पर्यटकीय सहर पोखरामा आधुनिक र सुविधासम्पन्न बसपार्क निर्माणका लागि विसं २०३२ मा २०५ रोपनी क्षेत्रफल जमिन अधिग्रहण गरिएको थियो।
पोखरा–९ पृथ्वीचोकमा बसपार्कका लागि छुट्टाइएको स्थानमा पाँच दशक पुग्न लाग्दासमेत हालसम्म बसपार्कका पूर्वाधार बन्न सकेका छैनन् तर बसपार्क बनाउन छुट्टाइएको जमिन बर्सेनि अतिक्रमणमा परेको छ।
बसपार्कभित्र पूर्वाधार नबन्दा लामो तथा बजार क्षेत्रभित्र चल्ने सबै बस बसपार्क अगाडिको सडकबाट गन्तव्यका लागि छुट्ने गरेकामा अबदेखि सबै बसले आफ्नो सेवा बसपार्कबाट नै दिनुपर्ने भएको छ। अहिले बसपार्कभित्रको जमिनमा खाल्डाखुल्डी पुरेर समथर बनाइएको छ।
सडक पेटीमै बस पार्किङ गरेर यात्रु चढाउँदा र झार्ने गर्दा मुख्य बजार क्षेत्र अस्तव्यस्त भएपछि पोखरा महानगरपालिकाले आइतबारदेखि सडकमा पार्किङ हटाएको थियो। पार्किङ हटाएपछि आजदेखि लागू हुने गरी पोखरा प्रवेश गर्ने तथा पोखराबाट बाहिरिने सम्पूर्ण बस सेवा बसपार्कभित्रबाटै सञ्चालन गर्ने निर्णय गरिएको छ।
महानगरपालिकाले पोखरा बसपार्क क्षेत्रमा पर्ने पृथ्वीचोकदेखि सेतीपुल (चाइनापुल)सम्मको सडकमा पार्किङ गर्न रोक लगाएको हो। जिल्ला सुरक्षा समिति कास्की र पोखरा महानगरको समन्वयात्मक बैठकले सो निर्णय गरेको हो। दुई दिनभन्दा बढी बसपार्कमा होल्ड भई बस्ने सवारी साधनलाई महानगरको प्रशासनिक भवन निर्माणस्थल ड्यामसाइडमा व्यवस्थापन गरिएको महानगरले जनाएको छ।
राजमार्गसँगै बसपार्क जोडिएकाले सडकमा पार्किङ गर्दा सवारी आवागमनमा असर पर्नुका साथै बाहिरबाट आएका पर्यटकले बसपार्क अव्यवस्थित र कुरुप देखिँदा पोखराको सुन्दरतामाथिनै प्रश्न उठेपछि बसपार्क वरपरको सडकमा पार्किङ हटाइएको हो।
सडक छेउमा हुने पार्किङका कारण सवारीको आवागमनमा असहजतासहित दुर्घटनाको समेत जोखिम बढेपछि अनधिकृत पार्किङ हटाइएको महानगर प्रमुख धनराज आचार्यले बताए। उनका अनुसार लामो तथा छोटो दूरीका सबै बस अबदेखि बसपार्कभित्रबाट छुट्ने व्यवस्था गरिएको छ।
उनले भने, “पृथ्वीचोकबाट छुट्ने छोटो तथा लामो लामो दूरीका बस बसपार्कबाट नै छुट्ने छुटाउने व्यस्थापन गरिएको छ। महानगरले यातायात व्यवसायीसँग समन्वय गरेको छ।” महानगरपालिका, ट्राफिक प्रहरी, स्थानीयवासी र व्यवसायीसमेतको सहयोगमा सडकको पार्किङ हटाइएको महानगरका प्रवक्ता मोती तिमिल्सिनाले बताए।
उनले भने, “लाइनमा बस्ने लामो दूरीका बसलार्ई मात्रै सडकमा राख्न दिएका छौँ। अन्य सबै सवारीलाई पार्किङ नगर्न सूचित गर्ने, सूचना बोर्ड राख्नेलगायतका काम गरेका छौँ। सडकबाट पार्किङ हटाउने अहिलेको निर्णय पहिलेको जस्तो फिर्ता हुँदैन।” – रासस |
गत आवमा चितवनमा जंगली जनावरको आक्रमणबाट १२ जनाको मृत्यु काठमाडाैं। गत आर्थिक वर्ष २०७९/०८० मा जंगली जनावरका कारण १२ जनाले ज्यान गुमाएका छन्। ती मध्ये बाघ र गैँडाको आक्रमणबाट पाँच/पाँच जना र हात्तीको आक्रमणबाट दुई जना रहेका छन्।
मृतकका परिवारहरुलाई जनही रु १० लाखका दरले राहत प्रदान गरिएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार जंगली जनावरको आक्रमणका कारण गम्भीर घाइते भएका ३१ र सामान्य घाइते भएका २७ जना छन्।
गम्भीर घाइते भएका ३१ जनाको परिवारलाई उपचार खर्चस्वरुप रु ३२ लाख ८० हजार १७ प्रदान गरिएको छ भने सामान्य घाइते भएका २७ जनाको परिवारलाई रु चार लाख २७ हजार एक सय २८ उपचार खर्चबापत प्रदान गरिएको उनले जानकारी दिए।
हात्तीको आक्रमणबाट १७, गैँडाको आक्रमणबाट २१, बाघको आक्रमणबाट सात, भालुको आक्रमणबाट सात, जंगली बदेलको आक्रमणबाट छ जना घाइते भएको निकुञ्जका सूचना अधिकारी तिवारीले बताए।
यस्तै जंगली जनावरका कारण दुई सय ३४ पशुधन क्षति भएको निकुञ्जको तथ्यांकले देखाएको छ। यसको राहत स्वरुप रु ३१ लाख ३८ हजार चार सय प्रदान गरिएको छ। भण्डारण गरी राखिएको अन्न बालीमा समेत क्षति पुगेको छ। यसबापत रु ५१ हजार राहत रकम भुक्तानी गरिएको छ ।
यस्तै सोही समयमा २७ वटा घरगोठमा जनावरले क्षति गरेको उनले जानकारी दिए। जसको क्षतिबापत रु दुई लाख ३४ हजार नौ सय भुक्तानी गरिएको छ। यस्तै अन्नबालीमा क्षति पाँच सय १७ पटक गरेको पाइएको छ। जसको राहतस्वरुप निकुञ्जले रु ३९ लाख ५८ हजार छ सय २५ भुक्तानी गरेको छ।
निकुञ्जका सूचना अधिकारी तिवारीका अनुसार गत आवमा निकुञ्जका जनावरका कारण आठ सय ५६ घटना भएका छन्। यसको राहतस्वरुप निकुञ्जले रु दुई करोड ३० लाख ९० हजार ६९ राहत रकम स्थानीयलाई बुझाएको छ। |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.