content
stringlengths
20
64.1k
प्रहरी महानिरीक्षक कुँवरद्वारा इन्टरपोललाई झण्डा हस्तान्तरण काठमाडौं। नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले इन्टरपोलका अध्यक्ष अहमद नासेर अल–राइसी र महासचिव जुर्गेन स्टकलाई विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा फहराइएको इन्टरपोलको झण्डा हस्तान्तरण गरेका छन्। इन्टरपोल महासचिवालयको आयोजनामा इन्टरपोल सदस्य राष्ट्रहरूका प्रमुखहरूबीच बुधबारदेखि सिङ्गापुरमा सुरु भएको १८औँ हेड अफ नेशनल सेन्ट्रल ब्यूरो (एनसिबी) सम्मेलनका अवसरमा नेपालको तर्फबाट प्रहरी महानिरीक्षक कुँवरले उक्त झण्डा हस्तान्तरण गरेका हुन्। इन्टरपोलको शताब्दी वर्ष मनाउने क्रममा इन्टरपोलको १००औँ सदस्य नेपालको तर्फबाट आरोहणमा सहभागी प्रहरी वरिष्ठ नायब निरीक्षक पुरुषोत्तम नेपालीले यही जेठ २ गते मङ्गलबार बिहान १०ः१५ बजे विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरी चुचुरोमा नेपालको राष्ट्रिय झण्डासहित नेपाल प्रहरी र इन्टरपोलको झण्डा फहराउन सफल भएका थिए । आगामी शुक्रबार सम्पन्न हुने उक्त सम्मेलनमा अन्तर्राष्ट्रियस्तरमा हुने अपराधहरूको नियन्त्रणमा इन्टरपोलका सम्पूर्ण एक सय ९५ सदस्य राष्ट्रहरूका एनसिबी प्रमुखहरू तथा इन्टरपोल महासचिवबीच समन्वय तथा सहकार्यको विषयहरूमा छलफल हुने र इन्टरपोलका सदस्य राष्ट्रका प्रमुखले आफ्ना देशका प्राथमिकता, उत्कृष्ट अभ्याससमेत आदान–प्रदान हुने कार्यक्रम रहेको छ । एनसिबी काठमाडौँका प्रमुख प्रहरी महानिरीक्षक कुँवर उक्त सम्मेलनमा सहभागी हुन सोमबार त्यसतर्फ प्रस्थान गरेका थिए। सम्मेलनमा एनसिबी काठमाडौँका शाखा प्रमुख प्रहरी उपरीक्षक अनुपमशम्शेर जबराको समेत सहभागिता रहेको छ ।
लिभिङ टुगेदरमा रहेका युवकले गरे प्रेमीकाको हत्या काठमाडौं। आपसी विवादका कारण लिभिङ टुगेदरमा रहेका एक युवकले युवतीको हत्या गरेका छन्। राजधानीको ठमेलमा लिभिङ टुगेदरमा बस्दै आएकी जेनिशा तामाङको उनकै प्रेमी अमर रञ्जितकारले हत्या गरेका हुन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्त एसपी सिताराम रिजालका अनुसार चितवनको राप्ती नगरपालिका–७ घर भएकी २६ वर्षीया जेनिशाको उनका प्रेमी काभ्रेको धुलिखेल नगरपालिका–१० घर भएका ३० वर्षीय रञ्जितकारले हत्या गरेका हुन्। उनका अनुसार जेनिशा र अमर ६ महिनायता लिभिङ टुगेदरमा थिए। उनीहरु भगवती बहालको एक घरमा डेरा लिएर सँगै बस्ने गरेको र सामान्य विवादमा उनको हत्या भएको थियो। ‘उनीहरुबीच मंगलबार दिउँसो आपसी विवादका क्रममा भएको झगडा चर्किदै जाँदा मादक पदार्थ सेवन गरेका अमरले जेनिशामाथि कुटपिट गरेका गरेका रहेछन्’, एसपी रिजालले भने। प्रहरीका अनुसार कुटपिटपछि गम्भीर घाइते भएकी जेनिशालाई मंगलबार दिउँसो ३ बजे उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको तर मंगलबार राति नै उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। मापसे गरेको अवस्थामा घटनालगत्तै अमरलाई पक्राउ गरिएको थियो। विवादको क्रममा जेनिशालाई कुटपिट गरेको रन्जितकारले स्वीकार गरिसकेका छन्।
त्रियानब्बे वर्षे वृद्ध स्नान गर्न गोसाइँकुण्डमा रसुवा। गोसाइँकुण्ड यात्राका लागि हेलिकोप्टर कम्पनीले उडान भर्न थालेपछि तिर्थालुलाई त्यहाँ पुग्न सहज भएको छ। अहिले काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हेलिकोप्टरमार्फत पवित्र तीर्थस्थल गोसाइँकुण्ड सहजै पुग्न सकिन्छ। हेलिकोप्टरको सुविधाकै कारण धादिङ नलाङ घर भई हाल काठमाडौँं सीतापाइला बस्दै आएका शिवराज अर्याल ९३ वर्षको उमेरमा पहिलो पटक गोसाइँकुण्ड पुग्न पाएका छन्। हेलिकोप्टरमार्फत आज विहान गोसाइँकुण्ड पुगेका उनले स्नान एवं पूजाआरधना गरे। वृद्ध अवस्थामा हिँडेर जानसक्ने अवस्था नहुँदा उनी चार्टर्ड हेलिकोप्टरमार्फत छोरा निमनाथ, बुहारी अम्बिका, नाति सुदीप र छोरी सरस्वती सापकोटासहित गोसाइँकुण्ड पुगेका हुन्। काठमाडौँबाट १४ हजार एक सय फिटको उचाइ हुँदै २५ मिनेटमा हेलिकोप्टरमार्फत अर्याल गोसाइँकुण्ड पुग्दा उनलाई लेकलाग्ने जस्ता कुनै समस्या नभएको वरिष्ठ क्याप्टेन आनन्द थापाले बताए। वयोवृद्व तीर्थयात्रु अर्यालले गोसाइँकुण्डमा स्नान र पूजाआजा गरेकोमा खुसी व्यक्त गर्दै सकेसम्म तीन पटक र सम्भव नभए कम्तीमा एक पटक गोसाइँकुण्ड पुग्न अरुलाई सुझाव समेत दिए।
ग्रामीण महिलाहरु आयमूलक कार्यमा संलग्न, आत्मनिर्भर बन्दै गोरखा। शहिद लखन गाउँपालिका–२ बेतेनीस्थित ‘लगनशील कोशिस कृषि महिला समूह’ले पछिल्लो दुई महिनामा १७ हजार रुपैयाँको फूल बेचेको छ । पाँच महिनादेखि फूल खेती सुरु गरेको समूहले फूल बेचेर रु १७ हजार आम्दानी गरेको हो । उन्नाइस महिला आबद्ध समूहले एक रोपनी जग्गा भाडामा लिएर फूल खेती गरेको हो । समूहले जग्गा धनीसँग वार्षिक पाँच हजारका दरले भाडा तिर्ने गरी पाँच वर्षसम्मको लागि सम्झौता गरेको छ । समूहमा आबद्ध महिलाले सुरुमा फूल कसरी लगाउने, कति मल राख्ने कति पानी राख्ने, टनेल कसरी बनाउने, फूलको बीउ कसरी राख्नेलगायत फूल खेतीसम्बन्धी तालिम लिएपछि खेती सुरु गरेका हुन् । समूहकी अध्यक्ष पृथ्वीमाया गुरुङले भनिन्, “गएको पुसमा तालिम लिएपछि माघमा फूलको बेर्ना सारियो र वैशाखदेखि फूल बेच्न सुरु ग¥यौं, फूलको माग अनुसार पुर्‍याउन सकेको छ्रैनौं ।” यतिछिटै फूल बिक्रीबाट आम्दानी गर्न सकिएला भन्ने उनीहरुलाई लागेको थिएन । अध्यक्ष गुरुङ भन्छिन्, ‘‘समूहका सबै महिला मिलेर अहिले गोदावरी र सयपत्री फूल लगाएका छौँ, मुख्यगरी जग्गा र पानीको समस्या भएको छ, जग्गा पढाउने तयारीमा छौँ ।” धेरै फूल खेती गर्नका लागि अहिले जग्गा र पानीको अभाव भएको छ । समूहले उत्पादन गरेको फूल मनकामना मन्दिरमा लगेर बेच्ने गरेको छ । शहिद लखन गाउँपालिका–९, नामजुङ खड्कगाउँस्थित लालुपाते कोशिस महिला कृषि समूहका सचिव रुपा दवाडीको घरमा अहिले १४ वटा बाख्रा छन् । बीस सदस्य रहेको समूहकी सचिव दवाडीले सुरुमा छ वटा मात्रै बाख्रापालन गर्दै आएकी थिइन्। बाख्रापालनसम्बन्धी तालिम लिएपछि भने आठ बाख्रा थपेर अहिले १४ पुर्‍याएकी छन्। “पहिला बाख्रा बिरामी हँदा कुन औषधि खुवाउने, कस्तो दाना खुवाउने भन्ने थाहा थिएन, बाख्र्राको लागि खनिज ढिक्का बनाउने पनि थाहा थिएन”, उनले भनिन्, “तालिम लिइसकेपछि बाख्रा पाल्न सजिलो भएको छ, तालिममा बाख्रापालन गर्दाको फाइदा, बाख्राको खोर बनाउँदा ध्यान दिनुपर्ने विषय र बाख्रामा लाग्ने आन्तरिक परजिवी र उपचार पद्दतिबारे सिकेपछि अहिले बाख्रा पाल्न सहज भएको छ ।” त्यसैगरी रत्ननगर नगरपालिका–११, चितवन, गैरीगाउँस्थित ‘गैरीगाउँ महिला कोशिस कृषक समूह’ले करेला र भिण्डी बिक्री गरेर रु ४० हजार आम्दानी गरेको छ । चार कट्ठा जग्गा भाडामा लिएर करेला र भिण्डी लगाएको समूहले भिण्डीको प्रतिकेजी ६० र करेलाको प्रतिकेजी ५० रुपैयाँमा बेच्दै आएको छ । उनीहरुले एक दिन बिराएर नारायणघाट सब्जीमण्डीमा लगेर तरकारी बेच्ने गरेका छन्।समूहमा आवद्ध महिलाले सामूहिक रुपमा करेला र भिण्डी लगाएर आम्दानी गरेका हुन् । समूहकी सदस्य शान्ति बास्तोलाले भनिन्, “तालिम लिँदा र नलिंदा धेरै फरक हुँदोरहेछ, तालिम लिएपछि कसरी तरकारी लगाउने, तरकारीमा समयमै पोटास, युरिया, पानी राख्नुपर्ने, बेलाबेलामा गोडमेल गर्नुपर्नेलगायत धेरै कुरा थाहा भएपछि तरकारी खेती गर्न सहज भएको छ ।” समूहमा सदस्यहरुले मासिक सय रुपैयाँ उठाउने गरेका छन्। गत पुसमा समूह गठन गरेर सदस्यहरुले १ प्रतिशत व्याजमा समूहबाट आवश्यकताको आधारमा पैसा निकालेर घर खर्च चलाउँदै आएका छन्। कट्ठाको वर्षको ३५ सय रुपैयाँको दरले जग्गाको भाडा तिर्नुपर्छ । समूहले जमिन बढाउने योजना पनि बनाएको छ । बास्तोलाले भनिन्, “समूहमा बसेर काम गर्दा छुट्टै रमाइलो हुँदोरहेछ, विभिन्न कुराहरु जान्ने अवसर पनि मिलेको छ ।” समूहभित्र पनि पाँच/पाँच जनाको उपसमूह बनाएर आ–आफ्नो पालोमा तरकारी टिप्ने र बेच्ने गर्दै आएका छन्। सुरुमा दलित महिला उत्थान संघ (एड्वान) ले फूलखेती र बाख्रा पालनसम्बन्धी १५ दिनको तालिम फूलको बीउ र आवश्यक औजार प्रदान गरेको थियो । तालिममा बाख्रामा लाग्ने विभिन्न रोग र नियन्त्रणका उपाय, औषधि/उपचार, जुुकाको उपचार र सुुइ, रोग सर्ने माध्यम, बाख्रालाई खोप लगाउँदा अपनाउनुुपर्ने उपाय, भर्खर जन्मेका पाठापाठीको हेरचाह गर्ने तरिका, ब्याउने बाख्रा र सुत्केरी माउको हेरचाह गर्ने तरिका, सन्तुलित दाना बनाउने तरिकाको प्रयोगात्मक अभ्यास गराइएको थियो । बाख्रापालनबाट आम्दानी गरेर घर खर्च चलाउँदै आएकी लालुपाते कोशिस महिला कृषि समूहका सचिव दवाडीले सबै बाख्राको बीमासमेत गराएकी छन्। “श्रीमानको खासै आम्दानी हुँदैन, बाख्रा पालेर पनि छोरा/छोरी पढाउनलगायत घर खर्च चलाउन सकिन्छ भन्ने लागेको छ, खासमा हामीले बाख्रा पाल्न नजाने र रहेछ, राम्रोसँग गरियो भने हुँदोरहेछ ।”, उनले भनिन्। अब एड्वानले बाख्राको खोर व्यवस्थित बनाउन सहयोग गरिदिए हुन्थ्यो भन्ने लागेको छ दवाडीलाई । खोर व्यवस्थित भएको खण्डमा बाख्रा थप्ने योजनामा छिन् उनी। दवाडीले भनिन्, “मैले पहिले पनि फर्म दर्ता गरेरै बाख्रा पालेको थिए, पहिला ३५/४० वटा नि थियो, पछि बाख्रालाई रोग लागेर धेरै मरेपछि जम्मा ५/६ वटा माउहरु मात्रै बाँकी भयो ।” तालिमपछि एड्वानले दिएको यातायात खर्चवापतको प्रतिव्यक्ति ४५ सय रुपैयाँ पनि समूहमा राखिएको छ भने समूहमा मासिक १०० रुपैयाँ उठाउने गरिन्छ। तालिम सञ्चालन गर्दाको खर्च जोगाएको रु ९० हजारसमेत गरी अहिले समूहमा रु एक लाख २४ हजार जम्मा भएको छ । त्यसैबाट आवश्यक मात्रामा ऋण लिएर बाख्रा किनेर पाल्ने गरेको उनको भनाइ छ । बाख्रा पालेर खेतीको लागि मल पनि भएको उनले बताइन्। रुपाले जस्तै शहिद लखन गाउँपालिका–९ गम्थालेकी डिलकुमारी नेपालीले पनि १५ वटा बाख्रा पालेकी छन्। डिलकुमारीको पनि तालिम लिनुअघि नौ वटा मात्रै बाख्रा थिए तर तालिम लिएपछि भने थपेर १५ वटा बनाएकी छन्। “पन्ध्र दिनको तालिममा धेरै कुरा सिकियो, बाख्रा विरामी भएको बेलामा एउटै खोरमा राख्न नहुने रहेछ, खोरलाई सधैँ सफा राख्ने, हप्तामा दुई पटक बाख्राको मल छुट्टै राख्नुपर्ने रहेछ भन्ने जानियो”, उनले भनिन्। पोहोर साल मात्रै तीन वटा खसी बेचेर छोराको पढाइ खर्च पुर्‍याएको उनले सम्झिइन्।डिलकुमारीले बाख्रापालन गरेरै घर खर्च चलाउने र छोरा/छोरीको पढाइ खर्च पुर्‍याउँदै आएकी छन्। अब भैँसी हटाएर बाख्रा नै थप्ने उनको सोचाइ छ । खड्क गाउँकै समूहकी सदस्य सुनिता भण्डारीले हालै एउटा खसी बिक्री गरेर रु १८ हजार हात पार्नुभयो । यसले आफूलाई घर खर्च चलाउन सजिलो भएको उनको भनाइ छ । समूहकी सदस्य अनिषा दवाडीले पनि समूहबाट ऋण निकालेर सातवटा बाख्रा पालेकी छन्। यता गण्डकी गाउँपालकिा–१, मकैसिंहस्थित ‘देवीमाई कोशिस महिला कृषक समूह’की सदस्य माया गुरुङले २७ वटा बाख्रा पालेकी छन्। मायाले बाख्रापालनबाटै आम्दानी गरेर घर खर्च चलाएर केही रकम बचतसमेत गरेकी छन्। उनले बाख्रा पालनसँगै सुन्तला खेती पनि गरेकी छिन्। शहिद लखन गाउँपालिकामा ‘हातेमालो कोशिस महिला कृषक समूह’, ‘लालीगुराँस कोशिस महिला कृषक समूह’, ‘नवपालुवा कोशिस महिला कृषक समूह’ र ‘बौद्धनाथ कोशिस महिला कृषक समूह’ गरी विभिन्न १२ वटा समूह गठन गरिएको छ । ती समूहले पनि अदुवा, बेसार, अकबरे खुर्सानी, कोसेवाली, बङ्गुरपालन, बाख्रा र कुखुरापालन गर्दै आएका छन् । सोही गाउँपालिकामा अहिलेसम्म सातवटा कृषिसम्बन्धी, एउटा पशुपालनसम्बन्धी र तीन वटा नेतृत्व विकाससम्वन्धी तालिम सम्पन्न भएको छ । त्यसैगरी गण्डकी गाउँपालिकामा अहिलेसम्म ११ वटा समूह गठन गरिएको छ भने छ वटा कृषिसम्बन्धी, एउटा पशुपालनसम्वन्धी र दुईटा नेतृत्व विकाससम्बन्धी तालिम सञ्चालन गरिएको थियो । गण्डकी गाउँपालिकाका ‘देवीमाई कोशिस महिला उद्यमी कृषक समूह’, ‘त्रिशुली कोशिश महिला कृषक समूह’ र ‘सिर्जनशील बहुउद्देश्य कोशिस महिला कृषक समूह’लगायत ११ वटा समूहले पनि कृषि र पशुपालन गर्दै आएका छन् । फूल खेती गरेर वा बाख्रापालन गरेर आत्मनिर्भर हुने पृथीमाया, रुपा, अनिषा, डिलकुमारी, सुनिता र माया उदाहरण मात्रै हुन् । वर्षौँदेखि घाँस दाउरामै ब्यस्त ग्रामीण भेगका महिला पृथ्वीमाया र रुपा जस्तै अचेल सामूहिक व्यावसायिक तरकारी खेती तथा पशुपालनमा लागेका छन् । पितृसत्तात्मक सोचबाट गुज्रेको हाम्रो समाजमा अझै पनि महिलालाई आयमूलक कार्यमा सग्लन कम र घरायसी काममा बढी समय दिनुपर्ने वाध्यता छ । उमेर नपुग्दै विवाह गरिदिने, आर्थिक स्रोतका लागि श्रीमानमा भर पर्नुपर्ने, अवसरबाट वञ्चित रहनुपर्ने, घरायसी बन्धन र निर्णय गर्ने अधिकार नहुनेजस्ता समस्याहरुले महिला पछाडि परेका छन् । युवा विदेश जाने प्रवृत्ति बढेसँगै कृषि क्षेत्रमा महिलाको सक्रियता बढ्दै गएको छ । शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापाले महिला र पुरुषबीचको विभेद् हटाउन पनि महिलालाई आत्मनिर्भर बनाउनुपर्ने तर्क गर्छन्। । महिलालाई सचेतनासँगै कृषिमा सशक्तीकरण गर्न सकिएमा कृषि उत्पादन वृद्धि हुनुको साथै आर्थिक सबलीकरणमा सहयोग पुग्ने देखिन्छ ।
मुग्लिन–पोखरा सडक : घरटहराको मुआब्जाका लागि रकम अभाव दमौली। पृथ्वीराजमार्गलाई चार लेनमा विस्तारका लागि तनहुँको पूर्वी खण्डमा घरटहरा हटाउन मुआब्जा वितरणका लागि रकम अभाव भएको छ। मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड) ले यो खण्डमा ६ सय ३१ घरटहराका लागि मुआब्जा वितरण गर्नुपर्नेछ। घरटहरा हटाउनका लागि रु २२ करोड ४५ लाख मुआब्जा आवश्यक पर्ने इञ्जिनियर विष्णु पाण्डेले जानकारी दिए। त्यसमध्ये रु १४ करोड ५० लाख भुक्तानी भइसकेको पाण्डेले बताए। उनले भने, “घरटहरासमेत गरी छ सय ३१ संरचनाका लागि मुआब्जा वितरण गर्न अहिले बजेट सकिएको छ, असार मसान्तसम्म रकम निकासा भएर आएपछि भुक्तानी हुन्छ।” पाण्डेका अनुसार हालसम्म चार सय ७२ घरटहरा भत्काइएको छ। त्यसमा ८३ लाभग्राहीले पहिलो किस्ता लगेर संरचना भत्काउन सुरु गरेका छन्। त्यस्तै, पहिलो किस्ताका लागि रु दुई करोड रकम माग गर्दै निवेदन आएको छ। “निवेदन आए पनि अहिले भुक्तानीका लागि रकम नभएकाले केही समय भुक्तानी दिन सक्ने अवस्था छैन, रकम आउनेबित्तिकै उनीहरुलाई पनि भुक्तानी हुन्छ”, पाण्डेले भने। यो खण्डअन्तर्गत व्यास नगरपालिका, बन्दीपुर गाउँपालिका र आँबुखैरेनी गाउँपालिका पर्दछन्। त्यसमध्ये बन्दीपुरको प्रमुख बजार डुम्रेमा घरटहरा भत्काउन सुरु भइसकेको छ। आँबुखैरेनी र व्यास नगरपालिकाको दमौली बजारमा घरटहरा भत्काउन बाँकी छ। उनले भने, “डुम्रे बजारका क्षेत्रमा रहेका सडक मापदण्डभित्र पर्ने घरटहरा भत्काउने काम भइरहेको छ, सडक मापदण्डभित्र रहेका सबै संरचना बिस्तारै हटाइन्छ।” डुम्रे बजारमा धेरै वर्ष पहिला बनेका अधिकांश घर सडक मापदण्डभित्र बनेका छन्। मुग्लिन–पोखरा सडक विस्तार आयोजनाले दुई खण्डमा सम्झौता गरेर काम गरिरहेको छ। आँबुखैरेनीदेखि जामुनेसम्मको पूर्वी खण्डमा ३० प्रतिशत प्रगति भएको आयोजनाले जनाएको छ। पश्चिम खण्डको प्रगति भने न्यून छ। पूर्वी खण्डअन्तर्गत तनहुँको आँबुखैरेनी खण्डमा सात किलोमिटर कालोपत्रको काम सुरु भइसकेको छ। चालु आर्थिक वर्षभित्रै सात किलोमिटर सडक खण्ड कालोपत्र सम्पन्न गर्ने लक्ष्यका साथ कामलाई अगाडि बढाइएको आयोजना प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिए। पूर्वी खण्डको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो। झन्डै ४१ दशमलव ४५ किमी यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछन्। पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ। यो खण्डको म्याद विसं २०८१ वैशाखसम्म रहेको छ। सरकारले मुग्लिन–पोखरा सडक विस्तारका लागि आगामी आर्थिक वर्षमा रु पाँच अर्ब ४२ करोड विनियोजन गरेको छ। विसं २०२६ मा रेखांकन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो। पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको ठेक्का रु सात अर्ब ४० करोड ४६ लाखमा लागेको छ। चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५/२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ। डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ। दुलेगौडादेखि खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौडादेखि पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ। सडक क्षेत्रभित्र संरचना बनाउन रोक मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड) ले सडकको मापदण्डभित्र कुनै पनि भवनलगायत निजी संरचना निर्माण गर्न रोक लगाएको छ। योजनाले सडकको केन्द्रविन्दुबाट २५/२५ मिटर दायाँबायाँ संरचना बनाउन रोक लगाएको हो। सडक मापदण्ड बाहिर संरचना निर्माण गर्नुपर्ने भएमा सडकको केन्द्रविन्दुबाट २५ मिटर सडक मापदण्ड र छ मिटर ‘सेडब्याक’ गरी ३१ मिटर छाडी नियमानुसार नक्सा पास गराई संरचना निर्माण गर्न अनुरोध गरिएको छ। – रासस
दुबई पठाइदिन्छु भन्दै रकम ठगी गर्ने ४५ वर्षीया महिला पक्राउ काठमाडौँ। दुबई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एसक महिलालाई पक्राउ गरेकी छिन्।  पक्राउ पर्नेमा झापा दमक नगरपालिका-१० घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-८ बस्ने ४५ वर्षीया मुना देवी कार्की रहेकी छन्। कार्कीले वैदेशिक रोजगारको लागि दुबई पठाई बाइक राईडरमा मासिक १ लाख रुपैयाँ भन्दा बढी तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी १ जना पीडितबाट पटकपटक गरी ४ लाख ५० हजार रुपैयाँ लिएर सम्पर्क विहीन भई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-११ बबरमहलबाट पक्राउ गरेको हो। उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहचल काठमाडौं पठाइएको छ।
अनलाइन ठगी गर्ने कार्यमा संलग्न २२ वर्षीय युवक पक्राउ काठमाडौँ। अनलाइन ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा एक युवकलाई पक्राउ गरेको छ।  पक्राउ पर्नेमा दोलखा कालिन्चोक गाउँपालिका-७ घर भई काठमाडौं कागेश्वरी मनहरा नगरपालिका-६ मुलपानी बस्ने २२ वर्षीय अरूण सिवाकोटी रहेका छन्। पीडितसँग चिनजान गरी ईसेवा तथा खल्ती वालेटहरुबाट हुने कारोबार तथा रकम ट्रान्सफर जस्ता कार्यहरु सिकाईदिने भन्दै फरक ब्यक्तिको फोटो राखी ईसेवा तथा खल्ती वालेटहरु खोली विभिन्न बहाना बनाई झुक्याई पीडितको बैंक खाता तथा मोबाइल बैंकिङमा पहुँच पुर्‍याई खाताबाट अन्यत्र बैंक खाता तथा वालेटहरुमा रकम ट्रान्सफर गरी अनलाईनमार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको खुल्न आएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा पठाइएको छ।
कम्बोडिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने ४६ वर्षीय व्यक्ति पक्राउ काठमाडौँ। कम्बोडिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक व्यक्तिलाई पक्राउ गरेको छ।  पक्राउ पर्नेमा सोलुखुम्बु लिखुपिके गाउँपालिका-१ घर भई काठमाडौं महानगरपालिका स्वयम्भू पाँचधारा बस्ने ४६ वर्षीय शेर बहादुर तामाङ रहेका छन्। तामाङले वैदेशिक रोजगारको लागि कम्बोडिया पठाई होटलमा मासिक १ लाख ५० हजार रुपैयाँ भन्दा बढी तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी १ जना पीडितबाट पटकपटक गरी ५ लाख रुपैयाँ लिएर सम्पर्क विहीन भई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-३१ नयाँबानेश्वरबाट पक्राउ गरेको हो। उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहचल काठमाडौं पठाइएको छ।
मेडिसिटी अस्पतालका कर्मचारीले गरे रकम हिनामिना, तीन जना पक्राउ काठमाडौं । नेपाल मेडिसिटी अस्पतालमा कार्यरत तीन कर्मचारीले साढे दुई करोड रुपैयाँभन्दा बढी रकम ठगी गरेको पाइएको छ । अस्पतालको विलिङ शाखामा कार्यरत तीन कर्मचारीले रकम हिनामिना गरेको उजुरी परेपछि प्रहरीले अनुसन्धान गर्दा ठगी गरेको पाइएको हो । जिल्ला प्रहरी परिसर ललितपुरले अस्पतालको विलिङमा घोटाला गरेर दुई करोड ६३ लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेको आरोपमा विलिङ शाखाका प्राविधिक प्रमुखसहित तीनजनालाई पक्राउ गरेर अनुसन्धान शुरु गरेको छ । प्रहरीले दोलखा घर भएर भक्तपुर ठिमी वस्ने अस्पतालमा कार्यकारी आईपी विलिङको रुपमा कार्यरत राघव सापकोटा, ललितपुर चापागाउँका सनम देशार र काठमाण्डौं वालुवाटारका आशिष अर्याललाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गर्दा ठगी गरेको खुलेको थियो । प्रहरीका अनुसार नेपाल मेडिसिटी अस्पताल नख्खु ललितपुरमा विलिङ सेक्सनमा काम गर्ने कर्मचारीहरूले अस्पतालमा प्रयोग हुँदैं आएको शुक्र नामको एचएमआइएस सफ्टवेयरको दुरुपयोग गरी रकम ठगी गरेका थिए । प्रहरी अनुसन्धानमा उनीहरुले अस्पतालमा भर्ना भएका बिरामीहरूबाट वेड चार्ज, डाक्टर चार्ज र नर्सिङ चार्जसमेतको वास्तविक शुल्क लिएपनि कम शुल्क सफ्टवेयरमा इन्ट्री देखाएर रकम ठगी गरेका हुन् ।
युनिलिभर नेपालसँगको सहकार्यमा हिमाली चुचुराबाट ३५ हजार किलो फोहोर संकलन काठमाडौँ। नेपाली सेनाको नेतृत्वमा युनिलिभर नेपालसँगको सहकार्यमा सगरमाथा, ल्होत्से, अन्नपूर्ण र बरुञ्चे हिमालहरूबाट ३५ हजार किलो फोहोर संकलन गरिएको छ। हालै पुरा भएको “सफा हिमाल अभियान २०२३” मार्फत हिमालहरूबाट फोहोर र प्लास्टिक हटाउने लक्ष्य राखेको थियो। यस अभियान मार्फत हिमालबाट ३५,७०८ केजी फोहोर संकलन गरिएको थियो। स्थानीयवासी र स्वयंसेवकको सहयोगमा गत चैत १४ गतेबाट सुरु भएको यो अभियानबाट सगरमाथा–ल्होत्से क्षेत्रबाट १३,६२१ किलो फोहोर र प्लास्टिक संकलन गर्न सफल भएको थियो भने अन्नपूर्णबाट ३,५६७ किलो र र बरुञ्चेबाट १८,५२० केजी गरी, जम्मा गरी ३५,७०८ केजी फोहोर यी क्षेत्रबाट हटाइयो। यस कार्यक्रममा युनिलिभर नेपालका प्रबन्ध निर्देशक, श्री अमलान मुखर्जीले युनिलिभर नेपालले नेपालको सेवा गर्न पाउँदा गर्व महसुस गरेको र नेपाली सेनासँगको यस सहकार्यको प्रयासमा सहभागी हुन पाउँदा र दिगोपनका यी स्थायित्व पहलहरूमा धेरै अन्य समर्थकहरूको साथमा चेतना जगाउन पाउँदाकम्पनीले सम्मानित महसुस गरेको बताए। जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्ने र यी महत्त्वपूर्ण चुचुराहरूको मौलिक प्रकृतिलाई जोगाउने प्रयासलाई यी अभियानहरूद्वारा बढावा दिएको छ। वातावरणमा सुधार पार्ने यस्ता प्रयासहरूलाई समर्थन र कदर गर्नुपर्दछ भन्ने युनिलिभरको विश्वास रहेको छ।
आजको मौसम: तराइमा ताताे हावा चल्ने , तापक्रम उच्च हुने संभावना काठमाडौं। हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। गण्डकी, कर्णाली र सुदुर पश्चिम प्रदेशका पहाडी भू-भागका थोरै तथा बाँकी प्रदेशका पहाडी भू-भागका ‍एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। रातl भने देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका तराइका भू-भागहरूमा अधिकतम र न्यूनतम तापक्रम केही दिन नघट्ने देखिन्छ जसका कारण सो भू-भागहरूमा तातो हावा र लू चलिरहेको अवस्था छ। पहाडी भू-भागहरुका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। तसर्थ, अत्याधिक गर्मी तथा मेघ गर्जन र चट्याङ्गबाट हुन सक्ने जोखिम वा क्षति बाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
काठमाडौं महानगरले थाल्यो अस्पताल अनुगमन, ओम र हेल्पिङ् हेण्डसमा देखिएन सुविधा काठमाडौं। काठमाडौं महानगरपालिकाले ठूला अस्पतालहरुमा लक्षित वर्ग निःशुल्क उपचार अवस्थाको अनुगमन सुरु गरेको छ। स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलको नेतृत्वमा आज ओम अस्पताल र हेल्पिङ् हेण्ड्स अस्पतालको अनुगमन गरेका छन्। अनुगमनका क्रममा अस्पतालहरुले लक्षित बर्गको निःशुल्क उपचारका लागि पहुँचयुक्त बनाउन थप काम गर्नु पर्ने देखिएको छ। स्वास्थ्य विभाग प्रमुख पौडेलले भने, ‘लक्षित बर्गको उपचारका लागि छुट्टै व्यवस्था गरिएको देखिएन । नागरिक वडापत्र स्पष्ट देखिएन । अस्पतालजन्य फोहोर व्यवस्थापनलाई प्रविधि र जोखिम न्युनीकरणका थप प्रयास गर्नुपर्ने देखियो ।’ अनुगमन सूचकका विषयमा जानकारी गराउँदै उनले भने, ‘हामीले लक्षित वर्गको उपचारका लागि निःशुल्क शय्या भए\नभएको, चिकित्साजन्य फोहोरको व्यवस्थापन भए\नभएको, नागरिक वडा पत्र भएरनभएको, सेवाग्राहीमैत्री सेवा प्रवाह भए\नभएको, स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरूको प्रचलित कानुनले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध भए\नभएको लगायत विषय हेरेका थियौँ । त्यस क्रममा अस्पताल भित्र रहेका क्यान्टिनमा खाद्य गुणस्तर कायम भए\नभएको, अनावश्यक प्रयोगशाला परीक्षणका लागि सिफारिस भए\नभएको जस्ता विषय पनि हेरेका थियौँ ।’ ओम अस्पतालका मेडिकल डाइरेक्टर डा. हरिश जोशीले भने, ‘हाम्रामा लक्षित वर्गको निःशुल्क उपचार सेवाका लागि माग आएको छैन । यदि कोही आए भने हामीसँग भएका शय्यामध्ये उहाँलाई उपचार गर्नेमा निःशुल्क उपचारको ट्याग लगाएर सेवा दिन्छौँ ।’ अनुगमनका क्रममा साधारण शय्या भएका उपचार कक्षहरु, प्रशासन, नागरिक वडा पत्र राखिएको ठाउँ, फोहोर व्यवस्थापन गर्ने गरिएको ठाउँ हेरिएको थियो । हेल्पिङ् हेण्ड्स अस्पतालमा एक विरामी र अर्को विरामी राख्ने शय्याको नजिक दुरीमा राखेको थियो । अनुगमन अधिकारीहरुले यसलाई सुधार गर्न निर्देशन दिएको छ । सेवाग्राही बस्ने ठाउँ नभएको, शय्याहरु पुराना भएको, सरसफाइमा कम भएको जनाउँदै अधिकारीले त्रुटी सच्याउन सुझाव दिएका छन् । आज देखिएका समस्या सुधारका लागि अवधि तोकेर बुँदागत निर्देशनसहित विभागले पत्र पठाउने तयारी गरेको छ । लाजिम्पाटमा भएको २५ शय्याको सिविक अस्पतालले लक्षित वर्गका लागि ३ वटा शय्या छुट्याएको छ । बागबजारमा रहेको इएनटी अस्पतालले नागरिक वडापत्र राखेको छैन । लक्षित वर्गलाई उपलब्ध गराउनु पर्ने शय्या छुट्याइएको छैन । अनगुमन क्रममा अस्पतालहरुलाई मासिक विवरण पठाउने ढाँचा दिइएको छ । यस ढाँचामा विरामीको नाम थर, परिचय पत्र नं., ठेगाना, भर्ना भएको मिति, शिफारिस गर्ने निकाय, रोग, छुट रकम, फोन नं. र फोटो भर्नुपर्छ । जन स्वास्थ्य सेवा ऐन, २०७५ को दफा ६४ मा भएको व्यवस्था बमोजिम, स्वास्थ्य संस्था सञ्चालन सम्बन्धी मापदण्ड, २०७७ स्वीकृत गरेको छ । यस मापदण्डको दफा ७० (घ्र) मा अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे विरामीको लागि कुल शय्याको १० प्रतिशत शय्या छुट्याएर अनिवार्य रुपमा निःशुल्क उपचार सेवा दिनु पर्ने व्यवस्था छ । स्वास्थ्य संस्थाबाट यो व्यवस्था कार्यान्वयन नभएपछि महानगरका प्रमुख बालेन्द्र शाहले ऐन कार्यान्वयन गर्न सार्वजनिक अपिल गरेका थिए। यससँगै महानगरको स्वास्थ्य विभागले सार्वजनिक सूचना प्रकाशन गर्‍यो। ज्येष्ठ १६ गते प्रमुख शाहले स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतलाई भेटेर संघ तथा प्रदेश सरकार मातहतका अस्पतालहरुमा ७ दिनभित्र निःशुल्क उपचारको व्यवस्था मिलाउन आग्रह गरेका थिए। प्रमुखसँगको भेटपछि ज्येष्ठ १९ गते मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट ऐन तथा मापदण्डमा भएको विपन्न, असहाय र बेवारिसे बिरामीको सिफारिस सम्बन्धित स्थानीय तहका वडा कार्यालयबाट गर्ने गराउने निर्णय भएका थियो। ज्येष्ठ २१ गते मन्त्रालयले स्थानीय तहलाई परिपत्र गर्दै त्यस्ता विरामीहरुको निःशुल्क उपचार हुने व्यवस्था मिलाउन र त्यसको अनिवार्य अनुगमन गर्न गराउन अनुरोध गर्‍यो। यो परिपत्रपछि संघ र प्रदेश सरकारमातहतका अस्पतालको अनुगमनका लागि स्थानीय तहलाई बाटो खुलेको छ।
अवैध लागूऔषध गाँजासहित पक्राउ काठमाडौं । चन्द्रागिरी नगरपालिका–२ बाडभञ्जाङबाट अवैध लागूऔषध गाँजाको धुलो दुई किलोग्रामसहित धादिङ गजुरी  गाउँपालिका–८ बस्ने २६ वर्षीय सुरेश तामाङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले धादिङबाट काठमाडौं आउँदै गरेको बा.प्र.०२–०४१ प ५६७१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा झोलामा लुकाई ल्याएको उक्त गाँजाको धुलोसहित फेला पारी पक्राउ गरेको हो ।
नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण संविधान प्रतिकूल छः सर्वोच्च बार काठमाडौं। सर्वोच्च अदालत बार एसोसिएसनले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण गर्नु संसदीय प्रणाली, शक्ति पृथकीकरणको सिद्धान्त र नेपालको संविधान प्रतिकूल रहेको ठहर गरेको छ। उक्त बारको आज बसेको आकस्मिक बैठकपछि अध्यक्ष हरिशङ्कर निरौलाले नेपालको संविधान प्रतिकूल राष्ट्रपतिले उक्त विधेयक प्रमाणीकरण गरेको बैठकले ठहर गरेको जानकारी दिए। “संसदीय प्रणाली, शक्ति पृथकीकरणको सिद्धान्त र नेपालको संविधान प्रतिकूल सम्माननीय राष्ट्रपतिबाट उक्त नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण भएको यस बार एसोसिएसनको ठम्याइ छ”, बैठकपछि जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सर्वोच्च अदालतमा यही विषयवस्तु हाल विचाराधीन रहेको हुँदा कानुनबमोजिम व्याख्या हुने नै छ ।” उक्त बारले निवर्तमान राष्ट्रपतिबाट आठ महिना पहिले प्रतिनिधिसभाले पेश गरेको प्रमाणीकरण नभएको उक्त विधेयक वर्तमान राष्ट्रपतिबाट यही जेठ १७ गते प्रमाणीकरण भएकोप्रति बारले ध्यानाकर्षण जनाएको छ।
कैलालीमा माटोको ढिस्कोमा पुरिएर महिलाको मृत्यु धनगढी । कैलालीमा माटोको ढिस्कोमा पुरिएर एक महिलाको मृत्यु भएको छ । जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ९ वनखेतकी ३४ वर्षीया रंगादेवी बेहराको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको हो। उनी मंगलवार बिहान माटोको ढिस्कोमा पुरिएर घाइते भएकी थिइन् । शिवशंकर सामुदायिक वनमा माटोको ढिस्कोमा पुरिएकी बोहराको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ। घटनाको विषयमा प्रहरीले थप अनुसन्धान थालेको छ ।
टिकटकमा भाइरल शिरीषको फूल हेर्न झापाको बर्ने चिया बगानमा पर्यटकको भीड झापा। झापाको बर्ने चिया बगानस्थित मेची राजमार्ग किनारमा शिरीष फूलेर राताम्य भएपछि ‘टिकटक भिडियो’ बनाउनेको भीड उर्लिएको छ । झापा र इलामको सिमाना नजिक पर्ने सो स्थान बुद्धशान्ति गाउँपालिका वडा नं ४ मा छ । चियाको बुट्यानयुक्त प्राकृतिक हरियालीमा फूलको सौन्दर्य थपिएपछि मेची राजमार्ग हुँदै पहाडी जिल्लाहरू इलाम, पाँचथर र ताप्लेजुङ जाने अधिकांश यात्री एकछिन रोकिएर रमाउने र फोटो खिचाउने गर्छन् । शिरीष फूलको सौन्दर्यले मोहित हुँदै खिचिएका फोटो र भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिरालो जमिन भएकाले भूक्षय हुन नदिन शिरीषका विरुवा हुर्काइएको थियो । पुराना ती रुखहरू वर्षमा एकचोटि फूलेर राताम्य हुँदा पर्यटकीय आकर्षणको केन्द्र बन्ने गरेको हो । शिरीष फूल्न थालेपछि हरेक दिन पाँच सय मानिस सो स्थानमा घुमफिरका लागि आउने गरेका छन् । पर्यटकको ओइरो लागेपछि चिया, खाजा र पानी बेच्ने साना व्यवसाय फस्टाएका छन् । “शिरीष फूलेपछि मानिसको ओइरो लाग्यो, त्यसपछि मैले पनि यहाँ पानी, कुरमुरे जस्ता सामान बेच्न थालेको छु”, बुद्धशान्ति–४ का अर्जुन घिमिरे भन्छन्, “पहिला बुधबारे बजारमा दोकान चलाउँथे । अहिले यही भाइरल शिरीषको फेदमा बसेर व्यापार चलाइरहेको छु ।” अरुभन्दा शनिबार भीड उर्लिने गरेको उनले बताए। एक साताअघि अस्ट्रेलियाको ब्रिसबेनबाट स्वदेश फर्किएकी इटहरी–४ की अनुष्का कटुवाललाई इलामको पर्यटकीय स्थल श्रीअन्तु जाँदै गर्दा बर्नेको भाइरल शिरीषको फूलले लोभ्यायो । परिवारका १२ जना सदस्यसहित आएकी उनले रिजर्व गाडीलाई राजमार्ग छेउमा पार्किङ गराएर एक घण्टा फोटो र भिडियो खिचाउनमा बिताइन् । “चिया बगानको हरियाली हेर्दै इलामतिर जाँदै थियौँ, रुखभरि रातो रङ पोतेजस्तो गरी फूलेको शिरीषका रुखहरू बाटामा लहरै उभिएका देखेपछि मनै थामिएन”, उनले भनिन्, “वरिपरि चिया बगानको हरियाली, माझमा चिल्लो राजमार्ग र लहरै फूलको शिरीषहरू । साह्रै राम्रो ठाउँ रहेछ ।” उनले राताम्य फूललाई पृष्ठभूमिमा राखेर १२ वटा टिकटक र मनलाग्दी सेल्फी खिचेको बताइन्। अस्ट्रेलियातिर सार्वजनिक पार्कहरूमा शिरीषको रङ्गीबिरङ्गी फूलले पर्यटकलाई लठ्याउने गरेको देखेको बताउँदै उनले यति धेरै मानिसको भीड लागे तापनि यहाँ पार्किङ, शौचालय र गफिने चौतारोहरूको अभाव रहेको गुनासो सुनाइन्। भोजपुरको अरुण–४ घर बताउने ३० वर्षीय अर्पण राईले पाँचथरको फालेलुङ जाँदै गर्दा भाइरल शिरीषको फूलमा केही भिडियो बनाउन पाउँदा आनन्द लागेको बताए । फूलको फेदमा गिटार रेटेर गीत गाउँदै गरेको सात वटा भिडियो खिचेको उनले बताए । “फूल त एउटा सिजनमा मात्र फुल्छ, तर यहाँ चिया बगानको सदाबहार हरियाली रहेकाले दीगो पर्यटकीय आकर्षणको केन्द्र बन्न सक्ने सम्भावना देखिन्छ”, उनले भने । गर्मीको मौसममा शिरीषको बोटमुनि शीतल छायाँ पाइने र त्यसमाथि फूलको सौन्दर्यले मानिसको ओइरो लाग्नु स्वाभाविक भएको उनको भनाइ छ । के पाका, के युवा तथा बालबालिका, सबै उमेरका पाहुना त्यहाँ पुग्ने गरेका छन् । इटहरीका ६३ वर्षीय बलराम कटुवाल छोरीछोरीहरूको आग्रहमा भाइरल शिरीषको बोटमुनि टिकटकका लागि छमछमी नाचिरहेको भेटियो । “छोरीहरूले कर गरेपछि नजानी नजानी पनि नाचेको हुँ, तर यो ठाउँ चाहिँ साह्रै मज्जाको रहेछ”, इलाममा घुम्न जाने क्रममा बाटैमा फूलको रौनक देखेर टिकटक बनाउनतिर लागेको उनले बताए। भाइरल शिरीषको चर्चा सामाजिक सञ्जालमार्फत फैलिएपछि टिकटक बनाउनकै लागि भनेर साथीहरूसँग घुम्न आएको भद्रपुर–३ की रेबिका थापाले बताए । चन्द्रगढीको वीरेन्द्र नमूना क्याम्पसको शिक्षा सङ्कायको स्नातक प्रथम वर्षमा अध्ययनरत उनले धेरैजसो साथीहरू शिरीषको फूलसँग फोटो र भिडियो खिचाउन यसअघि नै आइसकेको बताए । झापामा पर्यटकीय आकर्षणका स्थलहरू प्रशस्त रहेको र फूलको सौन्दर्यले मानिसको मनलाई उल्लासित बनाउने भएकाले फूलेका शिरीषका रुखहरू भाइरल भएको फोटो पत्रकार देवेन्द्र खरेल बताउँछन्। “यो ठाउँ राजमार्गबाट नजिक र हरियाली चियाका बोटहरूले घेरिएको कारण धेरै मानिसहरूको रोजाइ बनेको हो”, उनी भन्छन्, “फूल फूलेरै सुन्दर बनेका यस्तै दर्जनौँ स्थलहरू हाम्रै वरपर छन् ।” सामाजिक सञ्जालमा प्रकाशित गरिएका तस्वीर र दृश्यका कारण टाढादेखि आन्तरिक पर्यटकहरू शिरीषको फूलको सौन्दर्यप्रति मोहित बनेको उनको ठम्याइ छ । ठाउँ सुन्दर र फूल झन् सुन्दर भएरै त्यहाँ शिरीषको फूल हेर्न पर्यटकहरूको ओहोरदोहोर बढिरहेको छ । छोटो अवधिमै नयाँ पर्यटकीय गन्तव्यस्थलका रूपमा विकसित बनिरहेको त्यस ठाउँमा राजमार्गतिर उभिएर आफ्नै धुनमा फोटो र भिडियो खिच्ने प्रवृत्ति बढ्दा सडकमा दुर्घटनाको जोखिम पनि उत्तिकै बढेको छ । अर्कातिर, पर्यटकको सुविधा र सहजताका लागि शौचालय, खाजाघर र सुरक्षाको पर्याप्त प्रबन्ध हुन सकेको छैन । – चन्द्रकला भण्डारी\रासस
यसरी निकालियो सुनकोशीमा खसेको जिप (तस्बिरहरु) सिन्धुली। सुनकोशी नदीमा खसेर बेपत्ता भएका प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) का दुई अधिकारीहरुको शव जिपसहित फेला परेको छ। सशस्त्र प्रहरी बल नेपाल बिपद् ब्यबस्थापन तालिम शिक्षालय कुरिनटारबाट इन्सपेक्टर सुबास थापाको कमान्डको गोताखोरले १८ः१५ बजे सुनकोशी बाट गाडी र २ वटा शब बाहिर निकालेको हो। दुबै शवको सनाखत हुन सकेको छैन । क्रबार दिउँसो मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्डअन्तर्गत गोलन्जोर गाउँपालिका–७ को लौकुनबाट सुनकोशी नदीमा खसेको थियो । घटना भएको पाँचौँ दिनसुनकोशी नदीबाट गाडी र दुई जनाको शव बाहिर निकालिएको हो। सिटिइभिटी का दुई निर्देशक र अधिकृत चढेको बा१झ ७४६७ नंको जिप शुक्रबार दिउँसो मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्डअन्तर्गत गोलन्जोर गाउँपालिका–७ को लौकुनबाट सुनकोशी नदीमा खसेको थियो । भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको सिटिइभिटीको जिपमा प्रशासन शाखाका निर्देशक तनहुँको भानु–९ का ५७ वर्षीय कृष्ण केसी, पूर्वी नवलपरासीको प्रगति–७ घर भएका योजना महाशाखा निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल र इलामका ३२ वर्षीय विद्युत् प्राविधिक भानु पौडेल सवार थिए । उनीहरू सबै बेपत्ता थिए। चालक कृष्ण चौधरी घाइते अवस्थामा आफँै पौडिएर निस्किएका थिए ।
दोस्रो चरणको चक्रपथ विस्तारको काम छिटै सुरु हुन्छः मन्त्री ज्वाला काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले दोस्रो चरणको चक्रपथ सडक विस्तार आयोजनाको निर्माण छिटै सुरु हुने बताएका छन्। मंगलबार दोस्रो चरणको चक्रपथ सडक विस्तार आयोजना अन्तर्गत काठमाडौंको कलंकीदेखि बसुन्धारासम्मको सडकखण्ड निरिक्षण गर्दै मन्त्री ज्वालाले उक्त आयोजना छिटै सुरु हुने बताएका हुन्। उनले कलंकीदेखि बसुन्धारासम्मको ८ दशमवल २ किमि सडकका सरकारले गर्नुपर्ने सम्पूर्ण काम सम्पन्न गरेको र चीन सरकारले डिपिआर बनाएर छिटै टेन्डर गर्ने जानकारी दिए। मन्त्री ज्वालाले दोस्रो चरणको चक्रपथ सडक विस्तार आयोजनाको काम छिटो सुरु गर्ने गरि तयारी गर्न आग्रह गरिएको बताए । उनले उक्त सडकखण्ड अन्तर्गत ढुङ्गेधारा, गंगबु र बसुन्धारामा सडकका साथै अण्डरपास बनाउनका आग्रह गरेको र चिनिया राजदूतबाट सकारात्मक जवाफ प्राप्त भएको उल्लेख गरे। अनुगमनमा नेपालका लागि चिनिया राजदूत लगाएत सरोकारवाला निकायका अधिकारीहरुको पनि उपस्थीति रहेको थियो । चीन सरकारको अनुदानमा निर्माण भइरहेको चक्रपथ सडक विस्तार अन्तर्गत पहिलो चरणको कोटेश्वरदेखि कलंकीसम्मको विस्तारको काम सम्पन्न भइसकेको छ ।
सुनकोशीमा खसेको सिटिइभिटीको गाडी र दुई शव फेला सिन्धुली। सुनकोशी नदीमा जिपसहित खसेर बेपत्ता भएका प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) का दुई अधिकारीहरुको जिपसहित शव फेला परेको छ। शुक्रबार दिउँसो मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्डअन्तर्गत गोलन्जोर गाउँपालिका–७ को लौकुनबाट सुनकोशी नदीमा खसेको थियो । घटना भएको पाँचौँ दिनसुनकोशी नदीबाट गाडी र दुई जनाको शव बाहिर निकालिएको हो। सिटिइभिटी का दुई निर्देशक र अधिकृत चढेको बा१झ ७४६७ नंको जिप शुक्रबार दिउँसो मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्डअन्तर्गत गोलन्जोर गाउँपालिका–७ को लौकुनबाट सुनकोशी नदीमा खसेको थियो । भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको सिटिइभिटीको जिपमा प्रशासन शाखाका निर्देशक तनहुँको भानु–९ का ५७ वर्षीय कृष्ण केसी, पूर्वी नवलपरासीको प्रगति–७ घर भएका योजना महाशाखा निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल र इलामका ३२ वर्षीय विद्युत् प्राविधिक भानु पौडेल सवार थिए । उनीहरू सबै बेपत्ता थिए। चालक कृष्ण चौधरी घाइते अवस्थामा आफँै पौडिएर निस्किएका थिए । सशस्त्र प्रहरी, सेनाको गोताखोर र जनपथ प्रहरीको विपद् व्यवस्थानसमेत चारवटा टोलीले शुक्रबारदेखि खोजी निरन्तर गरेको थियो । एकातर्फ पानीको बहावलाई फर्काएर अर्कोतर्फ गोताखोरहरुले चुम्बक समेत प्रयोग गरी गहिराइमा पुगेर खोजी गरेका थिए। सुनकोशी नदीको पानीमा अत्यधिक करेन्ट भएकाले नदीको तल्लो भागसम्म पुग्ने गरी ५० केजी वजन जीउमा बाँधेर खोजी सुरु भए पनि धमिलो पानी भएकाले भित्र नदेखिँदा समस्या भएको थियो । घटना भएको दोस्रो दिनदेखि नै सुनकोशीको पानीलाई रामेछापतर्फको किनारबाट पठाएर घटनास्थलमा पानी कम गराउने प्रयास गरिएको थियो। चारवटा स्काभेटर, तीनवटा जेसिबी डोजर, पाँचवटा टिपर र ट्र्याक्टर लगाएर पानीका बहाव अर्कोतर्फबाट फर्काउन प्रयास गरिएको थियो। चारवटा एक्साभेटर, दुइटा डोजर र केही ड्रम ट्रक लगाएर सोमबार रातको ९ बजेसम्म पानीको बहाव फर्काउन लगातार मेशिनमार्फत काम गरिएको थियो । दुई जनाको शव घटनास्थलमा फेला परेको हो। दुबै शवको सनाखत हुन सकेको छैन ।
दुग्ध विकास बोर्ड खारेजीको विरोधमा व्यवसायीहरु, सडक आन्दोलन गर्ने चेतावनी काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८०\०८१ देखि राष्ट्रिय दुग्ध विकास बोर्ड खारेज गर्ने निर्णय गरेको भन्दै सरोकारवालाहरुले आपत्ती जनाएका छन् । दुग्धजन्य उत्पादन र उद्योगलाई नियमन गर्ने र किसानलाई विभिन्न सहुलियतका प्याकेजहरु ल्याउने र डेरी उद्योगसम्बन्धी नीति÷नियम बनाउने संस्थानै खारेज हुन लागेपछि सरोकारवाला निकायहरु सरकारको उक्त निणर्यको विरोधमा उत्रिएका छन्। मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै डेरी उद्योगसँग सरोकार राख्ने संघ÷संस्थाहरु नेपाल डेरी साइन्स एशोसिएसन, नेपाल डेरी एशोसिएसन, केन्द्रीय दुग्ध सहकारी संघ, केन्द्रीय पशुपन्छी तथा मत्स्र्य विकास सहकारी संघ, नेपाल एनिमल साइन्स एशोसिएसनलगायतका निकायहरुले सरकारको उक्त निर्णय फिर्ता हुनुपर्ने माग गरेका छन्। नेपाल डेरी साइन्स एशोसिएसनका अध्यक्ष टेकबहादु्र थापाले देशको कूल राष्ट्रिय आयमा ठूलो योगदान पु¥याइरहेको डेरी उद्योगको नियमक निकाय खारेजी हुनु दुःखद् रहेको बताए। केन्द्रीय दुग्ध सहकारी संघका महासचिव रामप्रसाद आचार्यले राष्ट्रिय दुग्ध विकास बोर्ड किसानले आफ्ना कुरा राख्ने ठाउँ भएको भन्दै यसको खारेजीको कुनै औचित्य नै नरहेको बताए। उनले आफ्ना मागका बारेमा अहिले ध्यानाकर्षण मात्रै गराइएको भन्दै माग पुरा नभए आन्दोलन गर्ने चेतावनी दिए। केन्द्रीय पशुपन्छी तथा मत्स्र्य विकास सहकारी संघका अध्यक्ष बाबुराम अधिकारीले दुग्ध विकास बोर्ड अन्तर्गत अहिले किसान र व्यवसायीहरुले गोठ सुधार, दुधको गुणस्तरको बारेमा जानकारी, किसान उद्योगबीचको समन्वय जस्ता विषयमा सेवा पाइरहेको बताए। किसान र व्यवसायीको हितमा काम गर्ने संस्था खारेजीको निर्णय आफैंमा दुःखद् रहेको उनको भनाई छ ।
नाबालिका दिदीबहिनीमाथि सामूहिक बलात्कारको प्रयास, पाँचजना पक्राउ दाङ । दाङमा नाबालिका दिदीबहिनीमाथि सामूहिक बलात्कार प्रयास गरेको आरोपमा पाँचजना पक्राउ परेका छन् । राप्ती गाउँपालिका– ३ की १४ र १२ वर्षीया दिदीबहिनीलाई सामूहिक बलात्कारको प्रयास गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा गढवा गाउँपालिका– ६ का १८ वर्षीय दिलशान अहमद, गढवा– ५ का २० वर्षीय सुहेल खान र कपिलवस्तु शिवराज नगरपालिका– ११ का २० वर्षीय जाबेद भन्ने जाविद खान छन् । साथै गढवा गाउँपालिका– ६ का १६ वर्षीय दुई किशोर पनि पक्राउ परेका छन् । पक्राउ परेका उनीहरुमाथि जिल्ला अदालत दाङबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
अन्तर्राष्ट्रिय तामाङ परिषदको नयाँ कार्यसमिति चयन, महासचिवमा टासी लामा काठमाडौं। अन्तर्राष्ट्रिय तामाङ परिषदको महासचिवमा टासी लामा सर्वसम्मत निर्वाचित भएका छन्। लामा नेपाल तामाङ घेदुङको सिफारिसमा महासचिवमा निर्वाचित भएका हुन्। थाइल्याण्डमा सम्पन्न पाँचौ सम्मेलनमा पारित विद्यानअनुसार महासचिवलाई कार्यकारी बनाएर अगाडि बढ्ने समेत निर्णय गरेको छ । सम्मेलनले यसअघिको कार्यकारी अध्यक्ष हुने प्रणाली हटाइ कार्यकारी महासचिव हुने बनाएको हो । “परिषदको कामलाई नियमित र चुस्त बनाउन परिषदलाई महासचिव प्रणालीमा लैजाने निर्णय भएको हो”, नेपाल तामाङ घेदुङका सङ्घीय सहअध्यक्ष कुमार घिसिङले भने। नवनिर्वाचित महासचिव लामाले सम्मेलनले संसारभर छरिएका तामाङलाई एकताको सुत्रमा जोड्न भाषा, संस्कृति, मैत्रिपूर्ण सम्बन्ध, आर्थिक सांस्कृतिक आदानप्रदान र अन्तर्राष्ट्रिय सम्बन्ध जस्ता महत्वपूर्ण विषयहरुमा जोड दिने बताए। “सम्मेलनले भाषा, संस्कृति, साहित्य, इतिहासजस्ता नौ वटा फरक–फरक विषयगत समितिहरु बनाएको छ । अब ती समितिहरु विषय विज्ञहरुले नेतृत्व गर्नेछन् । छ महिनाभित्र विज्ञहरुको भेला गरी त्यो समितिहरु निर्माण गरिनेछ”, उनले भने। सम्मेलनबाट उपमहासचिवमा लक्यान लामा तामाङ (अमेरिका), सचिवमा रामप्रसाद तामाङ (भारत), शुभराज बम्जन तामाङ (दक्षिण कोरिया), बुदु माया योन्जन तामाङ (रोमानिया) र कोषाध्यक्षयमा हवाल चन्द्र लामा तामाङ (जापान)का निर्वाचित भएका छन्। एक्काइस वर्षअघि स्थापना भएको परिषदले अव पूर्णरुपले अन्तर्राष्ट्रिय सङ्गठनको मान्यताअनुसार काम गर्नसक्ने स्थितिमा पुगेको महासचिव लामाको भनाइ छ । सम्मेलनमा १७ सदस्यीय संस्थाहरुको प्रतिनिधिहरुको सहभागिता थियो । परिषदमा स्थायी, राष्ट्रिय र सम्बन्धन संस्थाहरु सदस्य रहनेछन् । निर्वाचन प्रणालीअनुसार महासचिवका लागि स्थायी र राष्ट्रिय संस्थाहरुबाट सिफारिस हुनुपर्छ । हाल परिषदमा नेपाल, भारत, भुटान, बर्मा र थाइल्याण्ड स्थायी सदस्य छन् । राष्ट्रिय संस्थाहरुमा अमेरिका, जापान, बेल्जियम, बेलायत, पोर्चुगल र अस्ट्रेलिया छन् ।
पशुपतिका सुरक्षाकर्मी झुण्डिएको अवस्थामा मृत भेटिए काठमाडाैं। पशुपति क्षेत्र विकास कोषको कार्यालयको नवनिर्मित भवनमा कार्यालयका सुरक्षाकर्मी मृत भेटिएका छन्। कोषका कर्मचारीले आज कार्यालय परिसरमा सफाइका क्रममा कार्यालयकै सुरक्षाकर्मी धनबहादुर राना झुण्डिएको अवस्थामा फेला परेका थिए। कर्मचारीले घटनाबारे गौशाला प्रहरी कार्यालयलाई खबर गरेको प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए। राना बगैँचा फाँटबाट हालै सुरक्षातर्फ लगिएका कर्मचारी भएको कोषले जनाएको छ। कोषले खबर गरेपछि घटनास्थल पुग्दा राना झुण्डिएको अवस्थामा भेटिएकाले शव परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको प्रहरी नायब उपरीक्षक सञ्जीवबाबु खड्काले बताए। घटनाका बारेमा थप अनुसन्धान भइरहेको छ। सञ्चालक परिषद् सदस्यका लागि निर्माण गरिएको भवनमा राना झुण्डिएको अवस्थामा भेटिएका हुन्। रासस
पशुपतिमा मृत भेटिए सुरक्षाकर्मी काठमाडौँ। पशुपति क्षेत्र विकास कोषको कार्यालयको नवनिर्मित भवनमा कार्यालयका सुरक्षाकर्मी मृत भेटिएका छन्। कोषका कर्मचारीले आज कार्यालय परिसरमा सफाइका क्रममा कार्यालयकै सुरक्षाकर्मी धनबहादुर राना झुण्डिएको अवस्थामा फेला परेका थिए। कर्मचारीले घटनाबारे गौशाला प्रहरी कार्यालयलाई खबर गरेको प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए। राना बगैँचा फाँटबाट हालै सुरक्षातर्फ लगिएका कर्मचारी भएको कोषले जनाएको छ। कोषले खबर गरेपछि घटनास्थल पुग्दा राना झुण्डिएको अवस्थामा भेटिएकाले शव परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको प्रहरी नायब उपरीक्षक सञ्जीवबाबु खड्काले बताए। घटनाका बारेमा थप अनुसन्धान भइरहेको छ। सञ्चालक परिषद् सदस्यका लागि निर्माण गरिएको भवनमा राना झुण्डिएको अवस्थामा भेटिएका हुन्। – रासस
श्री एयरलाइन्सको जहाज ५० माइल उडेपछि काठमाडौं फर्कियो… काठमाडौं। काठमाडौंबाट धनगढी उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि बिचबाटोबाटै जहाज काठमाडौँ फर्किएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार काठमाडौ–धनगढी उडानको ड्यास आठ (–८) जहाज विमानस्थलबाट उडेर ५० माइल पुगेपछि जहाजको ‘प्रेसराइजेसन सिस्टम’ बिग्रिएको संकेत विमानचालक (पाइलट) ले पाएपछि जहाज काठमाडौँ फर्काएर सकुशल अवतरण गरिएको थियो । जहाजमा ७२ जना यात्रु सवार थिए । प्रवक्ता सिटौलाले भने, “विहान धनगढी उडेको जहाज, प्रेसराइजेनस (जहाज हाई अल्टिच्युटमा जाँदा अक्सिजन तह सन्तुलन गर्ने प्रणाली) मा समस्या देखिएपछि जहाज ५० माइल उडेपछि पुनः काठमाडौ फर्काइएको थियो, उक्त जहाजका यात्रुलाई विहान १०ः३० बजे अर्के जहाजको उडानबाट गन्तव्य लगिएको छ ।” काठमाडौँ विमानस्थलबाट विहान ८ः३० बजे धनगढीका लागि उडान भरेको जहाजमा प्रेसराइजेसन सिस्टमले काम नगरेपछि बिचबाटोबाटै फर्काइएको विमानस्थले जनाएको छ। उक्त जहाजका यात्रुलाई वैकल्पिक व्यवस्था गरेर गन्तव्य पुर्‍याइएको पनि थियो । श्री एयरलाइन्सका व्यवस्थापक अनिल मानन्धरले जहाजमा केही प्राविधिक मर्मतपछि सञ्चालनमा आइसकेको बताए।
प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जली अर्पण काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सवारी दुर्घटनामा निधन भएकी उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काकी माइली भाइबुहारी डा सञ्जु खाती खड्काप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। प्रधानमन्त्री दाहालले आज बिहान उपप्रधानमन्त्री खड्काको सुर्खेतस्थित निवासमा पुगेर उनीप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन्। उनले परिवारजनमा समवेदना प्रकट गरेका छन्। यसैगरी, उप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि स्व खड्काप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। यही जेठ १६ गते बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ठुडिया खोला नजिकै खड्का सवार कारलाई बसले ठक्कर दिँदा उनको निधन भएको थियो।
छात्रवृत्ति नदिने विद्यालयलाई कारबाही गर्ने महानगरको चेतावनी काठमाडाैं। काठमाडौं महानगरपालिकाले छात्रवृत्ति उपलब्ध नगराउने विद्यालयलाई कारबाही गर्ने भएको छ। महानगर प्रमुख बालेन्द्र शाहले महानगर अन्तर्गत सञ्चालित विद्यालयले यही जेठ २८ गतेभित्र छात्रवृत्ति वितरण गरिएको विवरण महानगरमा नबुझाए प्रचलित कानुन बमोजिम कारबाही गर्ने बताएका छन्। महानगरपालिकाले आज एक सूचना प्रकाशित गरी महानगरले छात्रवृत्तिको विवरण उपलब्ध नगराउने विद्यालयको सूचीसहित कारबाही प्रक्रिया अघि बढाउने जनाएको हो। साथै छात्रवृत्ति वितरणको विवरण उपलब्ध नगराएका विद्यालयको अनुमति एवं स्वीकृति समेत रद्द गर्ने चेतावनी दिएको छ। महानगरले जारी गरेको सूचनामा भनिएको छ, “काठमाडौं महानगरपालिकाको विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ५८ र ५९ एवं काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५० को उल्लंघन गरी हालसम्म छात्रवृत्ति वितरणको विवरण पेस नगर्ने विद्यालयले जेठ २८ गतेभित्र नियमानुसार छात्रवृत्ति वितरण गर्नुपर्ने छ।” महानगरले छावृत्ति उपलब्ध गराएको विवरण पेस नगरेमा काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५६ को उपदफा ४ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द वा यस ऐन वा अन्य प्रचलित कानुन बमोजिम हदैसम्मको कारबाही गर्ने चेतावनी समेत दिएको छ। महानगरले छात्रवृत्ति उपलब्ध नगराउने ३४२ विद्यालयको सूची समेत प्रकाशित गरेको छ।
भिरबाट लडेर २४ वर्षीय युवकको मृत्युु सिमकोट। हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिका–१ मा भिरबाट लडेर एक युवकको मृत्यु भएको छ।  मृत्यु हुनेमा २४ वर्षीय गौरीलाल दानी रहेका छन्। आइतबार दिउँसो कल्खे गाउँमा दसरा मेला हेरेर दोमुख फर्कंने क्रममा लौठारुख भिरबाट लडेर अदानचुली –१ कल्खे गाउँका दानीको मृत्यु भएको श्रीनगर प्रहरीचौकीका सहायक प्रहरी निरीक्षक कृष्णबहादुर बुढाले बताए। कल्खेबाट फर्केको व्यक्ति राति अबेरसम्म दोमुखको होटलमा नपुगेपछि परिवारका अन्य सदस्यले दानीको सोधखोज गरेका थिए। सोमबार बिहानै खोजीमा जाने क्रममा दानी मृतावस्थामा दोमुख नजिक भेटिएको स्थानीय परबहादुर थापाले बताए। दानीले दोमुखमा होटल सञ्चालन गर्दै आएका थिए। दसरा पूर्णिमाको दिन कल्खे गाउँमा देउडा गीत प्रतियोगिता आयोजना गरिएको थियो।
लुम्बिनीमा पाँच महिनामा चार लाख ७० हजार पर्यटक भित्रिए लुम्बिनी। पछिल्लो समय आन्तरिक पर्यटकसँगै लुम्बिनीमा भारतीय र तेस्रो मुलुकका पर्यटक आउनेक्रम बढेको छ। यसै क्रममा पछिल्लो पाँच महिना अर्थात् २०२३ को जनवरीदेखि मे महिनासम्म कूल चार लाख ७० हजार पाँच सय ४२ बढी पर्यटक लुम्बिनी भित्रिएका छन्। सन् २०२२ को जनवरीदेखि मे महिनासम्म तीन लाख ६२ हजार ५६ जनाले लुम्बिनी भ्रमण गरेका थिए। गत वर्षकोभन्दा यस वर्षको सङ्ख्या एक लाख आठ हजार चार सय ८६ ले बढी छ। सन् २०२३ को जनवरीदेखि मे महिनासम्ममा ६७ देशका ३४ हजार चारसय १३ जना राहदानी लिएका, तीन लाख २४ हजार दुई सय ६८  नेपाली र एक लाख ११ हजार आठ सय ६१  भारतीय नागरिकले बुद्धजन्मस्थलको भ्रमण गरेको तथ्यांक छ। गत वर्ष दुई हजार छ सय ८७ राहदानी लिएका, दुई लाख ८९ हजार पाँचसय ९४ नेपाली र ६९ हजार सात सय ७५  भारतीय नागरिकले लुम्बिनी भ्रमण गरेका जनाइएको छ। यस पाँच महिनाको अवधिमा नेपाली र भारतीय नागरिकबाहेक थाइल्यान्डका आठ हजार दुइ सय ४७, श्रीलंकका पाँच हजार सात सय २१, म्यान्माका पाँच हजार तीन सय ९८, भियतनामका तीन हजार दुई सय ३५, कोरियाली दुई हजार छ सय २९, चिनिया एक हजार दुई सय आठ र अन्य देशका सात हजार छ सय ७५ जना राहदानीका नागिरकले बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गरेको लुम्बिनी विकास कोषले जनाएको छ। गत वर्ष सन् २०२२ मा यिनै पाँच महिनाको आगन्तुक गणना गर्दा तेस्रो मुलुक ९६ देशका राहदानी दुई हजार छ सय ८७, नेपाली दुई लाख ८९ हजार पाँच सय ९४ र भारतीयको सङ्ख्या ६९ हजार सात सय ७५ रहेको थियो। तेस्रो मुलुकका राहदानी लिएकाको गणना गर्दा भियतनामी छ हजार नौ सय २३, थाई चार हजार तीन सय ८०, श्रीलंकन एक हजार आठ सय ८५, म्यान्मा एक हजार चार सय ९५ तथा अन्य नौ हजार दुई सय ५९  छन्। कोरोनाको अवधि सन् २०२१ मा ६८ देशका एक हजार एक सय ९७ जना राहदानी लिएकाले लुम्बिनी भ्रमण गरेका थिए। त्यसैगरी सन् २०२० को जनवरीमा १३ हजार एक सय सात, फेब्रुअरीमा २१ हजार छ सय ६७ र मार्च महिनामा आठ हजार तीन सय ६३ जना त्यसपछि नोभेम्बरमा ३ र डिसेम्बर महिनामा २३ तथा विशिष्ट दुई हजार एक सय ६६ गरी कूल ४५ हजार तीन सय २९ जना राहदानी लिएकाले लुम्बिनी भ्रमण गरेका थिए। सन् २०२१ मा चार लाख ६३ हजार छ सय ६३ जना नेपाली र ४३ हजार सात सय ३२ जना भारतीय नागरिकले लुम्बिनी भ्रमण गरेका थिए भने सन् २०२० मा  दुई लाख १० हजार ३३ जना नेपाली र ३७ हजार दुई सय छ जना भारतीय नागरिकले लुम्बिनी भ्रमण गरेका  कोषले उपलब्ध गराएको सूचनामा उल्लेख छ। त्यसअघि २०१९ मा भने नेपाली, भारतीय र तेस्रोमुलुक गरी कूल १५ लाख ५८ हजार तीन सय २६ जनाले लुम्बिनी भ्रमण गरेका थिए। लुम्बिनी, नेपालको पश्चिमी क्षेत्रस्थित एक महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थल हो । यो स्थानलाई बौद्धधर्मको जन्मस्थल मानिन्छ र विश्व सांस्कृतिक धरोहरस्थलको सूचीमा युनेस्कोले समावेश गरेको छ। यहाँ हालका वर्षमा पर्यटक वृद्धिसँगै पर्यटन व्यवसायले पनि वृद्धि गरेको लुम्बिनी पर्यटन व्यवसायी संघका अध्यक्ष हुसेनी लोधले बताए। लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी (भिक्षु मेत्तेय)ले लुम्बिनीमा पर्यटक सङ्ख्याको  वृद्धि पर्यटन उद्योगका लागि एक सकारात्मक सन्देश रहेको बताए। उनले भने, “यसले स्थानीय अर्थतन्त्रलाई वृद्धि गराउँछ भने रोजगार र आयसम्बन्धी अवसर प्रदान गर्दछ।” यो तथ्यांक मायादेवी मन्दिर परिसरमा प्रवेश गर्नेको मात्र हो। मायादेवी मन्दिर प्रवेश नगरेका तर लुम्बिनी घुम्न आएका पर्यटक पनि धेरै रहेको उनले बताए। रासस
आजको मौसमः मध्य तथा पूर्वी तराईमा अत्याधिक गर्मी बढ्ने काठमाडौं। हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशका पहाडी भू-भागका केही तथा बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। राति भने देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागको ‍एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। विशेष गरी मध्य तथा पूर्वी तराइका भू-भागहरूमा अधिकतम र न्यूनतम तापक्रम केही दिन नघट्ने देखिन्छ, जसका कारण सो भू-भागहरूमा तातो हावा र लू चलिरहेको अवस्था छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदुर पश्चिम प्रदेशका पहाडी भू-भागका केही तथा बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। साथै कोशी तथा मधेश प्रदेशका तराईका एक-दुई स्थानहरुमा हावाहुरीको समेत सम्भावना रहेको छ। तसर्थ, अत्याधिक गर्मी, मेघ गर्जन र चट्याङ्ग तथा हावाहुरी बाट हुन सक्ने जोखिम वा क्षति बाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।
नक्कली पत्रकार बनेर राजस्व छलीको सामान ल्याउने दुई जना पक्राउ काठमाडौं। नक्कली पत्रकार बनेर राजस्व छली गरेर ल्याएको सामान ल्याउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले आइतबार राति ललितपुर महानगरपालिका वडा नम्बर २६ चिवहालबाट सामान सहित दुई जनालाई पक्राउ गरेको हो । बारा जितपुर सिमरा उपमहानगरपालि १४ डुम्बरवाना बस्ने ३४ वर्षीय दीपकप्रसाद लामिछाने र भारत बिहार, मोतिहारी छतौनीका सचिन कुमार चौरासियालाई नियन्त्रणमा लिएको हो । आइतबार राति वाग्मती प्रदेश ०१–०२६ च ८९८० नम्बरको गाडीको अगाडि सिसामा प्रेस लेखिएको स्टिकर टाँसिएको थियो । त्यसपछि प्रहरीले पाएको सुचना अनुसार गाडी रोकेर चेक गर्‍यो । सवारीसाधनभित्र म्याद सकिएको प्रेस परिचय–पत्र भेटिएको थियो । त्यसपछि बिल तथा कागजात नभएका रजनीगन्धा, तुलसी, पासपास, खैनी, गुड्खाहरु, कत्थासमेत भेटिएको प्रहरीले जानकारी दिएको छ । अन्दाजी बीस लाख रुपैयाँ बराबरको सामान जफत भएको हो । ‘आफूलाई पत्रकार बताउने र गाडीमा पनि प्रेस लेखेर राजश्व छली गरी सामानहरु ल्याएका रहेछन् प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरको हो’, जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नवराज कार्कीले भने।
यौन दुर्व्यवहार गरेको आरोपमा एकजना पक्राउ काठमाडौं । जुम्ला तिला गाउँपालिका–९ रासा २३ वर्षीय  दिनेशकुमार राउत यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन् । सामाजिक सञ्जाल टिकटक मार्फत पीडित महिलासँग साथी बनेर अनलाइन माध्यमद्वारा महिलालाई यौन दुर्व्यवहार  गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पटक–पटक भेट्न बोलाउने र बोलाएको स्थानमा भेट्न नजाँदा फेक आईडीमार्फत अश्लील क्याप्सन राखी, अश्लील भिडियो तथा तस्बिर पोष्ट गरेर आफ्नो चरित्रहत्या गरेको भन्दै पीडित महिलाको उजुरीको आधारमा उनलाई आइतबार भक्तपुरबाट पक्राउ गरिएको हो । विद्युतीय कारोबार ऐन २०६३, अपराध अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर नेपाल प्रहरीको साइबर ब्यूरोको टोलीले उनलाई पक्राउ गरेर सोमबार सात दिनको म्याद थपेर अनुसन्धान भइरहेको जनाएको छ ।
पर्वतको कुश्मामा बस दुर्घटना हुँदा १८ जना घाइते पर्वत। म्याग्दीको बेनीबाट पोखरा जाँदै गरेको ना५ख ३९९३ नम्बरको बस आज दिउँसो पर्वतको कुश्मामा दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । मध्यपहाडी लोकमार्गअन्तर्गत जिल्ला प्रहरी कार्यालय पर्वत अगाडि ओरालोमा बस पल्टिँदा १८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । दुर्घटनामा नौ पुरुष, सात महिला र दुई बालबालिका घाइते भएका हुन् । उनीहरूको नाम ठेगाना खुलिसकेको छैन । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक अविनाशदीप जिसीले जानकारी दिए । अन्यको अवस्था भने सामान्य रहेको छ । अहिले सबै जना घाइतेको उपचार पर्वत अस्पतालमा भइरहेको छ । पानी परेर चिप्लो भएको सडकमा तीव्र गतिमा गुडेका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । बसका चालक प्रहरीको नियन्त्रणमा छन् ।
आईजीपी कुँवर हेड अफ एनसिबी कन्फ्रेन्समा सहभागी हुन सिंगापुर प्रस्थान काठमाडौं। प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवर इन्टरपोल महासचिवालयको आयोजनामा सिंगापुरमा सञ्चालन हुने ‘हेड अफ एनसीबी कन्फ्रेन्स’मा सहभागी हुन सोमबार त्यसतर्फ प्रस्थान गरेका छन्। प्रहरी महानिरीक्षक कुँवरलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा शुभकामना सहित हार्दिक विदाइ गरे। सन् १९२३ मा स्थापना भएको इन्टरपोलको शताब्दी वर्ष मनाउने क्रममा इन्टरपोलको १००औं सदस्य नेपालको तर्फबाट २०८० जेठ २ गते मंगलबार बिहान १०ः१५ बजे नेपाल प्रहरीका प्रहरी वरिष्ठ नायव निरीक्षक पुरुषोत्तम नेपालीले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरी चुचुरोमा नेपालको राष्ट्रिय झण्डा सहित नेपाल प्रहरी र इन्टरपोलको झण्डा फहराउन सफल भएकोमा इन्टरपोलको उक्त झण्डा प्रहरी महानिरीक्षक कुँवरबाट कन्फ्रेन्सको दौरानमा इन्टरपोलका प्रमुखलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । हेड अफ एनसिबी कन्फ्रेन्समा अन्तर्राष्ट्रिय स्तरमा हुने अपराधहरूको नियन्त्रण सम्बन्धमा इन्टरपोलका सम्पूर्ण १९५ सदस्य राष्ट्रहरूका इन्टरपोल महासचिवबीच एकैसाथ समन्वय एवम् सहकार्यको विषयहरूमा छलफल हुने गर्छ । कन्फ्रेन्समा इन्टरपोलका सदस्य राष्ट्रहरूका प्रमुखहरूले आ-आफ्ना देशका प्राथमिकताहरू, उत्कृष्ट अभ्यासहरू आदान प्रदान गर्नेछन् । प्रहरी महानिरीक्षक कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नेछन् ।
१० प्रतिशत निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाहीः स्वास्थ्यमन्त्री बस्नेत काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले विपन्नका लागि कूल शय्याको १० प्रतिशत निःशुल्क नछुट्टाउने अस्पताललाई कारबाही गर्ने बताएका छन् । नेशनल बाथरोग सेन्टरको १०औँ वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रममा उनले कानुनअनुसार कूल शय्याको १० प्रतिशत विपन्न, असहाय, बेवारिसे बिरामीको लागि छुट्टाइ निःशुल्क उपचार नगर्ने अस्पतालाई कारबाही गर्ने चेतावनी दिए । यही जेठ २१ गते मन्त्रालयले सबै अस्पताल र सात सय ५३ वटै स्थानीय तहलाई पत्राचार गर्दै १० प्रतिशत निःशुल्क उपचारको व्यवस्था मिलाउन निर्देशन दिएको छ । मन्त्री बस्नेतले  विपन्न, गरिब र असहाय बिरामीको पहिचान गर्ने काम प्रत्येक वडालाई दिएको भन्दै वडा कार्यालयले पहिचान गरेर सिफारिसका आधारमा हरेक अस्पतालले विपन्न र असहाय बिरामीको लागि १० प्रतिशत शय्यामा निःशुल्क उपचार गर्नुपर्नेमा जोड दिए । उनले अस्पतालहरूले विपन्नलाई निःशुल्क उपचार गरे नगरेको स्वास्थ्य मन्त्रालयले अनुगमन गर्ने भनाइ छ । “अस्पतालले १० प्रतिशत शय्यामा गरिब, विपन्नलाई निःशुल्क उपचार दिएको छ वा छैन अनुगमन गर्छौँ । यदि ति अस्पतालले निःशुल्क उपचार नगरेको पाइएकामा कारबाही गछौँ”, उनले भने । आर्थिक अभावको कारणले कुनै पनि बिरामीले औषधि उपचार गर्न नपाएर ज्यान गुमाउन नपरोस्मा भन्दै त्यस्ता बिरामीका लागि मन्त्रालयले आकस्मिक उपचार कोषको व्यवस्था गर्ने बताए। रोग लागेपछि उपचारमा ठूलो धन राशि खर्च गर्नुको सट्टा रोग लाग्नै नदिनेतर्फ ध्यान दिनुपर्ने अहिलेको आवश्यकता रहेको उल्लेख गर्दै उनले आहार, बिहार र शारीरिक व्यायाम ठीक ढङ्गले गर्न सके बाथलगायत धेरै रोगबाट बच्न सकिने विश्वास व्यक्त गए । वरिष्ठ बाथरोग विज्ञ डा विनित वैद्यले नेशनल बाथरोग सेन्टरले सरकारले पनि हातेमालो गरेर बाथरोग नियन्त्रण र रोकथाम गर्ने सक्ने बताए ।  सेन्टरका कार्यकारी निर्देशक रोशन कक्षपतिले आगामी पाँच वर्षभित्र सेन्टरले थप सात जिल्लामा सेवा विस्तार गर्ने जानकारी दिए । सो अवसरमा बस्नेतले नेशनल बाथरोग सेन्टरले सञ्चालन गर्न लागेको थर्मोग्राफी सेवा शुभारम्भ गरे।
कांग्रेस सहमहामन्त्री चौधरीलाई मातृशोक, देउवाले गरे दुःख व्यक्त काठमाडौँ। नेपाली कांग्रेसका सहमहामन्त्री एवम् पूर्वमन्त्री उमाकान्त चौधरीलाई मातृशोक परेको छ। नेता चौधरीकी आमा मदेशिया थरुनीको आज बाराको कोल्हवी नगरपालिकास्थित आफ्नै निवासमा निधन भएको हो। उनले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेको कांग्रेसले जनाएको छ। थरुनीको निधनप्रति कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन्। सभापति देउवाको तर्फबाट कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गर्दै थरुनीको निधनबाट कांग्रेसले एक अग्रज व्यक्ति गुमाएको बताएका छन्। सभापति देउवाले थरुनीप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै उनको आत्माको चिरशान्तिको कामनाका साथै सहमहामन्त्री चौधरीलगायत शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गरेका छन्।
यो वर्ष ६ सय झोलुंगे पुल निर्माण हुने काठमाडौँ।  यस वर्ष देशभर झण्डै ६ सय झोलुंगे पुल निर्माण गरिने भएको छ। एक दिनमा दुई झोलुंगे पुल बनाउने योजनाअनुसार सात सय ३० पुल निर्माण गर्ने लक्ष्य भए पनि बजेट अभावका कारण त्योभन्दा केही कम संख्यामा सम्पन्न हुन लागेको हो। पुराना क्रमागत काम भए पनि नयाँ पुलमा बजेट कमीले गर्दा नयाँ ठेक्का आह्वान गर्न नसकिएको स्थानीय पूर्वाधार विभागले जनाएको छ। दुई वर्ष पहिले र गतवर्ष सुरु भएका पुल निर्माण सम्पन्न गर्न लागिएको छ। पुल निर्माण तीनै तहबाट हुने भए पनि छुट्टाछुट्टै नभएर आपसी समन्वयमा हुने गरेको विभागको भनाइ छ। “स्थानीय तहले साना, प्रदेशले मध्य र संघीय सरकारले लामा पुल निर्माण गर्दै आएको छ”, विभागका उपमहानिर्देशक अशोककुमार साहले भने, “संघले ठूला तथा दुई वटा डाँडा जोड्ने वा प्राविधिक रुपमा कठीन र धेरै स्पान चाहिने पुल बनाउने गर्छ।” एउटा पुल बनिसक्न कम्तीमा दुईदेखि तीन वर्ष लाग्छ। कुनै योजनामा बजेट परेपछि पहिलो वर्ष त्यसको सम्भाव्यता अध्ययन तथा विस्तृत अध्ययन गरिने र खरिद प्रक्रिया सुरु हुने उनले बताए। पुल सानो भएमा खरिद प्रक्रियामा गएको एक वर्षमै र ठूलो भएमा दुई वर्षमै सम्पन्न गरिने छ। यस वर्ष ग्रामीण क्षेत्रमा बढी झोलुंगे पुल निर्माण गर्ने योजना छ। खासगरी कर्णालीको, सुदूर पश्चिम क्षेत्रमा बढी जोड रहेको उपमहानिर्देशक साहको भनाइ थियो। गत वर्षसम्म विभागले देशभरका तुईन विस्थापित गर्न प्राथमिकता दिएको थियो। अब तुइन हटाउनका लागि झोलुङ्गे पुल बनाउनुपर्ने भएको उनले जानकारी दिए। उपमहानिर्देशक साहले भने, “पहिले पहिचान भएका सबै तुइनका ठाउँमा झोलुङ्गे पुल बनाइसकिएको छ।” विभागले खासगरी ग्रामीण भेगका नागरिकलाई नदी वारपार गर्न सजिलो होस् भनी पुल निर्माण गर्दै आएको छ। झोलुंगे पुल बनेको केही वर्षभित्रै सडक पुल बन्ने ठाउँभन्दा पनि अझै केही वर्ष नबन्ने देखिएको स्थानलाई प्राथमिकतामा राखिएको विभागले बताउँदै आएको छ। चार पाँच वर्षमा नै त्यहाँ मोटर गुड्ने पुल बनाइने स्थानमा झोलुंगे पुलको औचित्य नभएको उपमहानिर्देशक साहले बताए। चालु आब र आगामी आबमा पनि अब तराईमा झोलुंगे पुलको योजना कम रहेको छ। काठमाडौँ उपत्यकामा भने त्यस्तो योजना नै छैन। – रासस
मोटरसाइकल दुर्घटनामा २७ वर्षीय युवकको मृत्यु भरतपुर। चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार भरतपुर महानगरपालिका–१९ का २७ वर्षीय सन्तोष गुरूङको दुर्घटनामा परेर मृत्यु भएको हो। गुरुङले चलाएको ना ६४ प ६७० नम्बरको मोटरसाइकल आइतबार साँझ साढे ६ बजेतिर भरतपुर–५ कल्याणपुरको भित्री सडकमा अनियन्त्रित भई पल्टिएको थियो। दुर्घटनाका कारण गुरूङको नाक र मुखमा गहिरो चोट लागेको थियो। भरतपुरमा रहेको चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचाररत गुरुङको आज बिहान ३ बजेतिर मृत्यु भएको प्रहरी प्रवक्ता पण्डितले जानकारी दिए। मृतक गुरुङको शव शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ।
मेलम्चीको वैकल्पिक प्रणालीको ‘गेट’ मर्मत काठमाडौँ। मेलम्ची खानेपानी आयोजनाले अम्बाथानस्थित आयोजनास्थलको वैकल्पिक प्रणालीको ‘गेट’ मर्मत गरेको छ। मेलम्ची नदीमा पानीको बहाव बढी हुँदा र धमिला पानी हुँदा पनि काठमाडौँ उपत्यकामा पानी नियमित ल्याउनका लागि मर्मत गरिएको मेलम्ची खानपानी विकास समितिले जनाएको छ। प्रणालीअन्तर्गत गेट नम्बर १ ले पानी सुरुङको भित्र पठाउने, गेट नम्बर ९ फल्स गर्ने समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जानकारी दिए। उनले भने, “गेट नम्बर ९ ले गर्दा धमिलो पानी सुरुङभित्र पस्न पाउँदैन।” आयोजनाअन्तर्गत वैकल्पिक प्रणालीअन्तर्गतका गेट मर्मतका लागि १० दिनसम्म बन्द गरिएको थियो। पानी पथान्तरणको काम ‘हेडबर्क’ ले गर्ने भए पनि सम्पन्न नहुँदै क्षतिग्रस्त भएकाले वैकल्पिक प्रणलीमार्फत पथान्तरण भइरहेको छ। गत मंगलबारदेखि उपत्यकामा पानी पुनः ल्याउन थालिएको थियो। गेटको मर्मतका लागि बन्द गरिएको र एकै पटक धेरै परिमाणमा पठाउन नहुने भएकाले विस्तारै बढाउँदै लगिएको समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए। उनले भने, “सुरुमा एक तिहाइ र त्यसपछि दुई तिहाइ गर्दै पूरा क्षमतामा पानी ल्याउने गरी मिलाइएको छ।” उपत्यकामा पहिलोपटक मेलम्चीको पानी विसं २०७७ चैतमा ल्याइएको थियो। पहिलोपटक पानी ल्याइएको केही महिनामा नै असारमा लेदोसहित आएको बाढीका कारण त्यहाँको संरचनामा क्षति पुगेको थियो। जुन अहिलेसम्म पनि पुनःनिर्माण भइसकेको छैन। गत दुई वर्ष पनि हिउँदमा मात्रै उपत्यकामा पानी ल्याइएको थियो। पानी पथान्तरणका लागि निर्माण गरिएको संरचना ‘हेडबर्क’ को क्षति भएपछि अहिले अस्थायीरुपमा पानी पथान्तरण गरेर ल्याइएको छ। वर्षाको समयमा बाढी आउन सक्ने र यसले गर्दा सुरुङभित्र बाढी पस्ने जोखिम भएकाले गत वर्षहरुमा वर्षामा सुरुङ बन्द गरिएको थियो। यो वर्ष गेटको मर्मत गरेर सम्भव भएसम्म वर्षामा पनि पानी चलाउने समितिको योजना रहेको छ। उपत्यकामा मेलम्चीको पानीका कारण हिउँदमा पानीको अभाव कम भएको छ। उपत्यकाको भित्री भागमा पहिले पानीको बढी समस्या रहेकामा अहिले भित्री भागमा नियमित पानी वितरण भइरहेको छ। चक्रपथ बाहिरका धेरै ठाउँमा भने वितरणका लागि पाइप बिच्छाउने काम भइरहेको छ। – रासस
अकला मन्दिर पुनःनिर्माण : काम अपुरो गरेर ठेकेदार बेपत्ता गाेरखा। भूकम्पले क्षति पुर्‍याएको गोरखाको ऐतिहासिक, पुरातात्विक तथा धार्मिक महत्व बोकेको प्रसिद्ध अकला मन्दिर पुनःनिर्माणको काम अलपत्र परेको छ। गोरखा नगरपालिका-१४, स्थित गोप्लिङमा रहेको अकला मन्दिर झण्डै तीन वर्षदेखि पुनःनिर्माणको काम अलपत्र रहेको मन्दिरका पुजारी भोजराज जैसीले बताए। गोरखा भूकम्पले क्षति पुर्‍याएपछि पुनःनिर्माण सुरु गरिएको अकला मन्दिर २०७८ असोजभित्रै निर्माण सम्पन्न गर्नुपर्ने भए पनि अझैसम्म पनि निर्माण पूरा हुन नसकेको हो। गोरखा नगरपालिकाले ‘अकला मन्दिर पर्यटकीय पूर्वाधार’ परियोजनामार्फत रु २४ लाख १० हजार आठ सय ८५ मा गोर्बुङ राना निर्माण सेवासँग मन्दिर पुनःनिर्माणका लागि ठेक्का सम्झौता गरेको थियो। ठेकेदार कम्पनीको लापर्बाहीका कारण मन्दिर पुनःनिर्माणको काम अलपत्र परेको हो। मन्दिर पुनःनिर्माण अलपत्र पारेको कम्पनीलाई नगरपालिकाले पटक–पटक म्याद थप गर्दासमेत पुनःनिर्माणको काम सम्पन्न हुन नसकेको नगरपालिकाले जनाएको छ। दैनिक सयौँ भक्तजन पूजाआजाका लागि पुग्ने गरेको अकला मन्दिर पुनःनिर्माणको काम नहुँदा अलपत्र मन्दिरमा भक्तजन पूजा गर्न बाध्य भएको पुजारी जैसीले बताए। “काठ भएन भनेर ठेकेकारले काम गर्न नसकेको भन्दै आएको छ”, उनले भने, “काम अपुरो गरेर ठेकेदार कता गयो भन्ने थाहा छैन।” नगरपालिकाले मन्दिर निर्माणका लागि स्टेमेट डिजाइन गर्ने क्रममा काठको मूल्य नराखी डिजाइन गरेर ठेकेदार कम्पनीसँग ठेक्का सम्झौता गरेकाले काठ कसले उपलब्ध गराउने भन्ने विवादका कारण निर्माणको काममा समस्या भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष टोपबहादुर महतले बताए। “नगरपालिकाले ठेक्का गराउँदा काठको मूल्य नै नराखी गराएको रहेछ”, उनले भने, “अहिले हामीले वरपर रहेको पाँच समितिमार्फत काठ जोहो गरिरहेका छौँ, अब केही दिनमा बाँकी रहेको काम अघि बढाउँछौँ।” मन्दिर पुनःनिर्माणका लागि ठेक्का सम्झौता गर्ने क्रममा पुनःनिर्माणका लागि आवश्यक पर्ने काठ स्थानीय वन समितिले काठ उपलब्ध गराउने सर्तमा ठेक्का सम्झौता भएको अध्यक्ष महतको भनाइ छ तर स्थानीय सामुदायिक वनले काठ उपलब्ध गराए पनि अपुग भएकाले मन्दिर निर्माणमा ढिलाइ भएको उनले बताए। अहिले थप तीन सामुदायिक वनबाट तीन सय सेफ्टी काठ उपलब्ध भएकाले मन्दिरका लागि आवश्यक झ्याल ढोका निर्माणको काम सुरु भएको अध्यत महतले बताए। मन्दिरका लागि आवश्यक झ्याल, ढोका कलात्मक र पुरानै संरचनाअनुसार हुनुपर्ने भएकाले बाहिरबाट कामदारले काम गरिरहेको उनको भनाइ छ। मन्दिरको पुनःनिर्माणको काम अलपत्र परेपछि पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले समेत निर्माणाधीन मन्दिरको अवलोकन गरेर निर्माणको काम अघि बढाउन निर्देशन दिएका थिए। स्थानीयवासीले भने नगरपालिकाका प्राविधिकको कमजोरीका कारण पनि मन्दिर पुनःनिर्माणमा ढिलाइ भइरहेको आरोप लगाएका छन्। ठेकेदार कम्पनीका जीवन रानाले सम्झौताअनुसारको काठ नपाउँदा काम सम्पन्न गर्न नसकेको स्वीकार गरेका छन्। “नगरपालिकासँग सम्झौताका क्रममा नै स्थानीय वन समूहले आवश्यक काठ दिने सर्तमा काम थालेको हो”, उनले भने, “समितिले समयमा काठ नदिँदा झ्याल, ढोका, नाल र मुसल बनाउन पाएनाैं अनि काम रोकियो।” उनले आवश्यक काठ उपलब्ध भएको थप चार महिनामा काम सक्ने दाबीसमेत गरे। रासस
आजको मौसमः तराईमा ताताे हावा चल्ने, देशभरी तापक्रम उच्च काठमाडौं। हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखका अनुसार देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। दिउँसो सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा देशका बाँकी पहाडी भू-भागका ‍एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। रातl भने देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागका ‍एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। देशको तराईका केही भू-भागहरुमा तातो हावा र लू चलिरहेको छ तथा देशभरको अधिकतम र न्यूनतम तापक्रम खासै नघट्ने देखिन्छ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा देशका बाँकी पहाडी भू-भागका ‍एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। तसर्थ, अत्याधिक गर्मी तथा मेघ गर्जन र चट्याङ्गबाट हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ।
कोरोना भाइरसको सङ्क्रमण शून्यमा झर्‍यो काठमाडौं। कोरोना भाइरसको सङ्क्रमण शून्यमा झरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कमा आज सात सय ६० जनामा गरिएको परीक्षणमा सङ्क्रमित सङ्ख्या शून्य रहेको छ । अहिलेसम्म सक्रिय सङ्क्रमित १७ रहेका छन् । कोही पनि सङ्क्रमितलाई सघन उपचार कक्ष (आइसियु) र भेन्टिलेटरमा राख्नुपरेको छैन । यही जेठ महिनादेखि नेपालमा पनि कोरोना भाइरस विरुद्धको खोपको प्रभावले र छिमेकी मुलुक भारतमा पनि सङ्क्रमण कम भएपछि नेपालमा सङ्क्रमण कम हुँदै गएको हो । गत चैतमा नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि १.१६ देखिएपछि नेपालमा सङ्क्रमण बढिरहेको थियो । नेपालमा कोरोना भाइरसको सङ्क्रमण न्यून हुँदै गएपछि मास्कको प्रयोगलाई पनि स्वेच्छिक बनाइएको छ । विश्व स्वास्थ्य सङ्गठनले पनि कोरोना भाइरस न्यून हुँदै गएपछि गत वैशाख २२ गते कोभिड–१९ जनस्वास्थ्यको आपत्काल नरहेको घोषणा गरेको थियो ।
जनप्रतिनिधि नै घरेलु हिंसामा संग्लन महोत्तरी। घरेलु हिंसा अन्त्यको लागि सार्वजनिक कार्यक्रममा बोलिरहने जनप्रतिनिधि नै हिंसाको पीडक बने भन्दा सबैलाई अचम्म लाग्न सक्छ । तर, महोत्तरीको भंगाहा नगरपालिकाका एक जना जनप्रतिनिधि यस्तै अपत्यारिलो घटनाको प्रमाण आफैँ बनेका छन् । आफ्नै श्रीमती र छोरीले वडा नम्बर ४ का वडा अध्यक्ष गणेशप्रसाद महतोले दिने गरेको पीडा सार्वजनिक गरेपछि यस्तो खुलासा भएको हो । १८ वर्षीय छोरी अल्पना कुमारी महतोले आमा ललिता देवीलाई दिएको दुःखको विषयमा बुबालाई सम्झाउँदा उल्टै कुटपिट गर्ने गरेको बताएकी छन् । ‘बुवाको मोबाइलमा अस्वभाविक हर्कतको विषयमा थाहा पाएपछि सोधेँ, बुवाले उल्टै कुटपिट गर्नुभयो,’ छोरी अल्पनाले भनिन्, ‘घरमा खाना खान कम आउने, मम्मीको कोठामा नसुत्ने, काली भइस भन्ने गर्नुहुन्थ्यो ।’ टिकटकमा परस्त्रीसगँ नाच्ने र बुबाको हर्कत शंकास्पद देखिएपछि मम्मी र परिवारका अन्य सदस्यलाई समेत भनेको उनले बताइन‍् । गत हप्ता ललिता देविलाई अध्यक्ष महतोले कुटपिट गरेपछि अहिले उनी माइतमा नै बस्दै आएकी भाइ श्यामसुन्दर महतोले बताए । अध्यक्ष महतोको अस्वभाविक हर्कतको विषयमा छोरी अल्पनाले टिकटिकमा समेत सहायता मागेकी छन् । आमाका पक्षमा बोल्दा आफूले पनि कुटाइ खानु परेको उनले सुनाइन् । अध्यक्ष महतोको घरेलु हिंसाको घटना यो नै पहिलो भने होइन । २०६४ सालमा पनि श्रीमती ललितालाइ निर्घात कुटपिट गरेपछी प्रहरी कार्यालयबाट कागज गरेर मिलापत्र भएको पाइएको छ । कागजमा श्रीमती र परिवारका सदस्यलाई कुनै दुःख नदिने प्रतिबद्धता जनाएता पनि पुनः घटना दोहोर्‍याएको स्थानीय बताउँछन् । उता महतो भने छोरी र श्रीमतीले आरोप लगाएको जस्तो नभएको दाबी गर्छन् । परिवारका लागि आफ्नो दायीत्व निर्वाह गरिरहेको उनले बताए ।
ताप्लेजुङमा वरिष्ठ प्रहरी हवलदार मृत फेला ताप्लेजुङ। ताप्लेजुङमा एक जना वरिष्ठ प्रहरी हवलदार मृत अवस्थामा भेटिएका छन् । सिरिजंघा गाउँपालिकामा रहेको तेल्लोक इलाका प्रहरी कार्यालयमा कार्यरत वरिष्ठ प्रहरी हवलदार ४१ वर्षका दीपक शाहा शंकर मृत अवस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । सिदिङ्वा गाउँपालिका–६ मा रहेको निलगिरी माध्यमिक विद्यालयको सर्वपक्षीय बैठकमा सहभागी भएर फर्किएका शंकरको शव इलाका प्रहरी कार्यालय तेल्लोकभन्दा केही तल बाघथला भन्ने ठाउँमा भटिएको हो ।
छुवाछूत गर्नेलाई कानूनी कारबाही गर्न आयोगको आग्रह काठमाडौं। राष्ट्रिय मानवअधिकार आयोगले जातीय विभेद र छुवाछूतका सबै घटनाको सूक्ष्म अनुसन्धान गरी दोषीलाई कानूनी दायरामा ल्याउन र कानूनको प्रभावकारी कार्यान्वयन गर्न सरकारलाई आग्रह गरेको छ । आयोगले आज छुवाछूत मुक्त राष्ट्र घोषणा गरेको १७ वर्ष भएको अवसरमा शुभकामना व्यक्त गर्दै आज जारी गरेको प्रेस विज्ञप्तिमा उक्त आग्रह गरिएको छ । प्रेस विज्ञप्तिमा भनिएको छ, “दैनिकरूपमा समाजमा घटिरहेका जातीय विभेद तथा छुवाछूतका घटनालाई निर्मूल गर्नका लागि कानूनको कार्यान्वयनमा सहयोग पु¥याउन आयोग सबै राजनीतिक दल तथा तिनका भ्रातृ सङ्गठन, जनप्रतिनिधि, नागरिक समाज, सबै धार्मिक सङ्घसंस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घसंस्था, सञ्चारकर्मी, मानव अधिकारकर्मी तथा आमनागरिकलाई अनुरोध गर्दछ ।” संवैधानिक तथा कानूनी व्यवस्थाका बाबजुद कानूनको प्रभावकारी कार्यान्वयन हुन नसक्दा नेपालमा अझै पनि जातीय विभेद र छुवाछूतका घटनामा कमी आउन नसकेको आयोगले जनाएको छ । जातीय विभेद र छुवाछूत सम्बन्धमा आयोगमा ३७ उजुरी विचाराधीन अवस्थामा रहेका रहेका छन् । हालसम्म आयोगले क्षतिपूर्तिका लागि सिफारिस गरेका जातीय छुवाछूत तथा विभेदका घटनाका पीडितको सङ्ख्या दुई सय पाँच रहेका छन् भने सरकारलाई सात वटा नीतिगत सिफारिस गरेको छ । सामाजिक वहिष्करण, मन्दिर प्रवेशमा रोक, कोठा भाडामा नदिइने, अमर्यादित भाषाको प्रयोग तथा छुवाछूतजन्य अमानवीय घटना दिन प्रतिदिन भइरहनु र त्यस्ता अपराधमा संलग्नलाई कारबाही हुन नसक्दा दण्डहीनता कायम रहेको अवस्थाप्रति आयोगले चिन्ता व्यक्त गरेको छ । आयोगले यस प्रकारका घटनाहरूको निरन्तर अनुगमन गरी प्रतिवेदन प्रकाशन गरेको छ । नेपालको संविधानले प्रत्येक व्यक्तिको सम्मानपूर्वक बाँच्न पाउने हक, न्यायसम्बन्धी हक, दलितको हक, सामाजिक न्यायको हक, समानताको हक, छुवाछूत तथा भेदभाव विरुद्धको हकलगायतका अधिकारको सुनिश्चितता गर्दै समतामूलक समाजको परिकल्पना गरेको छ । जातीय तथा अन्य सामाजिक छुवाछूत तथा भेदभाव (कसुर र सजाय) ऐन, २०६८ र मुलुकी अपराध संहिता, २०७४ तथा नेपाल पक्ष राष्ट्र भएको सबै किसिमका जातीय भेदभाव उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि, १९६५ समेतले यस्ता हकहरूको प्रत्याभूति गरेको छ ।
मोटरसाइकल र अटो ठोक्किँदा एकको मृत्यु, तीन जना घाइते दाङ। दाङमा मोटरसाइकल र अटो एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा अटो चालक घोराही उपमहानगरपालिका-५ बस्ने किरण रोका रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । टाउकोमा गम्भीर चोट लागेका रोकाको स्वास्थ्य चौकी सिसहनियामा उपचारका क्रममा दिउँसो करिब २ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै घाइते हुनेहरूमा अटोमा सवार घोराही १८ मसिना बस्ने ५२ वर्षीया डिलसरा बादी, मोटरसाइकल चालक राप्ती गाउँपालिका-३ वसन्तपुर बस्ने ३३ वर्षीय दोर्णबहादुर चौधरी र मोटरसाइकलमा सवार सोही ठाउँका ३० वर्षीय सुन्दरप्रसाद चौधरी रहेको जिप्रका दाङका प्रवक्ता एवं डीएसपी राजनकुमार गौतमले जानकारी दिए । घाइते चौधरी दुबै जनालाई थप उपचारका लागि बाँकेको नेपालगन्ज रिफर गरिएको छ । घाइते बादीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा उपचार भइरहेको छ । आइतबार दिउँसो करिब साढे १ बजेतिर राप्ती गाउँपालिका-४ श्रीनारायण चोकस्थित पूर्वपश्चिम राजमार्ग घोराहीबाट भालुबाङतर्फ जाँदै गरेको भे १२ प ७५०४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको रा १ ह ५६०१ नम्बरको अटो आपसमा ठोक्किएका थिए ।
असार ४ गतेभित्र म्याद नथपे अयोजनाहरु ठप्प पार्ने निर्माण व्यवसायीको चेतावनी काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघले आगामी बजेटमा आफ्ना मागहरुका बिषयमा सम्बोधन नभएको भन्दै आन्दोलन गर्ने चेतावनी दिएको छ। महासंघले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै २०८१ असार मसान्तसम्म सवै आयोजनाहरुको म्याद थप हुनुपर्ने, माइलस्टोनको व्यवस्था खारेज हुनुपर्ने , सरकारसंग भएको सहमति अनुसार मूल्य समायोजन हुनुपर्ने लगाएतका मागहरु बजेटमा सम्बोधन नगर्नु दुर्भाग्यपूर्ण रहेको ठहर गर्दै आन्दोलन गर्ने चेतावनी दिएको हो । आगामी असार ४ गते भित्रमा सवै आयोजनाहरुको म्याद थपको निर्णय नभएमा सम्पूर्ण अयोजनाहरु ठप्प पार्ने र सवै इजाजत पत्रहरु राज्यलाई बुझाएर आन्दोलनमा होमिन बाध्य हुने महासंघका अध्यक्ष रवि सिंहले बताए। राज्यबाट व्यवसायीहरुलाई हालसम्म भुत्तानी गर्न नसकेको,बैंकहरुबाट ऋण उपलव्ध नगराइएको लगाएतका कारणले हाल करिव ३ हजार भन्दा बढि आयोजनाहरुको म्याद थप गर्नुपर्ने अनुमान रहेको उनले बताए। उनले महासंघले प्रधानमन्त्री लगाएत सम्बन्धी सवै निकायहरुलाई आफ्ना मागका बारेमा जानकारी गराएपनि कुनै सुनुवाई हुन नसकेको गुनासो गरे। आगामी आर्थिक बर्षमा निरन्तरता नपाउने आयोजनाहरुको भुक्तानी नै लिन नसकिने भएकाले बाध्य भएर आन्दोलन गर्नुपर्ने अवस्था आएको भन्दै समयमा नै राज्य गम्भीर हुनुपर्ने अध्यक्ष सिंहले बताए।
आधुनिक हुनु भनेको पहिचान छोडेर यान्त्रिक नक्कल गर्नुहुँहैनः गृहमन्त्री श्रेष्ठ पाटन। उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आधुनिक हुनु भनेको पहिचान छोडेर यान्त्रिक नक्कल गर्नु नभएको बताएका छन्। आज ललितपुर महानगरपालिका–२१ को आयोजनामा ऐतिहासिक एवं सांस्कृतिक रुद्रायणी देवीको १२ वर्षे मेलाको अवसरमा रुद्रायणी देवगणमा नव प्रवेशी आठ देव गणको सम्मानमा आयोजित कार्यक्रममा उनले आधुनिकताको नाममा भद्दा नक्कल गर्ने प्रवृत्ति बढेको बताउँदै पहिचान छोडेर यान्त्रिक नक्कल गर्न नहुने बताए । “पहिचान र संस्कृतिको रक्षा गर्नुको सट्टा यान्त्रिक नक्कल गर्दा कति पीडा हुन्छ भन्ने कुरा मैले भोगेको छु । आधुनिक हुनु भनेको पहिचान छोडेर यान्त्रिक नक्कल गर्नु होइन । आधुनिक संस्कृतिको नाममा भद्दा नक्कल गर्ने प्रवृत्ति बढ्यो, यसले हामीलाई विस्तारै आफ्नो भाषा, संस्कृति बिर्साएर अङ्ग्रेजीमा नक्कल गर्नेतिर धकेल्यो । हामी मातृभाषा भन्दा अङ्ग्रेजीमा गर्व गर्न थाल्यौँ । यसको परिणाम हामीले आफ्नो पहिचान र संस्कृति भुल्दै गयौँ”, उनले भने । मन्त्री श्रेष्ठका अनुसार हाम्रो पहिचान र संस्कृति बनाउने काम हामीले नगरे कसैले गर्दैन । “तीनै तहको सरकार, स्थानीयहरु र गुठीहरु मिलेर यसको रक्षा र जगेर्ना गर्नुपर्छ”, उनले भने, “खोकनावासी नेवार समुदायले जातीय पहिचान र संस्कृति जगेर्ना गर्न गर्नुभएको योगदानको सम्मान गर्न चाहन्छु ।” मन्त्री श्रेष्ठले हरेक जातिको आफ्नै पहिचान र संस्कृति हुने उल्लेख गर्दै यसको रक्षा गर्न सके गर्व गर्न सकिने र अरुको उत्पीडन नहुने बताए । उनले पहिचानको रक्षा गर्न नसक्दा आर्थिक मात्रै नभई विभिन्न सांस्कृतिक र पहिचानका दृष्टिकोणबाट पनि पीडित हुनुपर्ने तर्क गरे । पूर्वमन्त्री तथा नेकपा माओवादी केन्द्रकी नेत्री पम्फा भुसालले खोकनालाई सांस्कृतिक पर्यटकीय क्षेत्रका रूपमा विकास गरेर समुन्नत र समृद्धिको खोकना, राष्ट्रको समुन्नत र समृद्धिको एउटा अङ्गको रूपमा अगाडि बढाउन यो १२ वर्षे मेला सफल होस् भन्ने कामना गरे । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले कला संस्कृति यहाँको पहिचान तथा इज्जत भएको बताउँदै यसलाई बचाउन गरेको पहलप्रति खोकनावासीलाई धन्यवाद व्यक्त गरे । उनले मूर्त तथा अमूर्त सम्पदा बचाउन महानगरले महत्त्वपूर्ण काम गरेको बताए । रुद्रायणी मन्दिर पुनःनिर्माण समितिका अध्यक्ष तथा देवगण वेखनर महर्जनले गाईजात्राको भोलिपल्टदेखि एक महिनासम्म रुद्रायणीदेवीलाई गुफा राखिने र गुफाबाट निकालेसँगै मेला सुरु हुने बताए । देवगण महर्जनका अनुसार खोकनाबाट सुरु भएको जात्रा बुङमती, पाटन, हनुमानढोकामा देखाइन्छ, त्यसपछि रुद्रायणी मन्दिर परिसरमै देखाएपछि सम्पन्न हुन्छ । काठमाडौँ उपत्यकाको दक्षिणी भेगमा अवस्थित खोकनाका ४६ जना देवगणमध्ये आठ नयाँ देवगणलाई आज सम्मान गरिएको हो । योसँगै ४३ जना देवगण पुगेको वडाध्यक्ष रवीन्द्र महर्जनले जानकारी गराए। अध्यक्ष महर्जनका अनुसार अझै तीन देवगणको व्यवस्थापन हुन बाँकी छ ।
पाल्पामा जिप दुर्घटनाः तीन जनाको मृत्यु, ११ घाइते पाल्पा। पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८, सत्यवती केवँरेछेडामा आइतबार बेलुकी जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा ११ जना घाइते भएका छ्न् । मृतक दुई महिला र एक पुरुष रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । उनीहरूको पहिचान खुलेको छैन । सालझण्डीबाट अर्घाखाँचीतर्फ जाँदै गरेको लु १ च ९०२४ नम्बरको डबल क्याब जिप ढोरपाटन सडकमा दुर्घटनामा परेको प्रहरीको भनाइ छ । घाइते भएकाहरुलाई उद्धार गरी रुपन्देहीस्थित लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको छ
शिकारीले हानेको गोली लागेर १७ वर्षीया किशोरीको मृत्यु कालिकोट। नरहरीनाथ गाउँपालिका वडा नम्बर ५ रुप्साकी १७ वर्षीय किशोरीको गोली लागेर मृत्यु भएको छ । जेठ १९ गते दिउँसो मकै बारीमा मकै गोड्दैगर्दा स्थानीय एक शिकारीको गोली लागेर १७ वर्षीय एलिसा सहकारी घाइते भएकी थिइन् । घाइते सहकारीको प्रथामिक स्वास्थ्य चौकी कुमालगाउँमा उपचार सम्भव नभएपछि प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको थियो । उपचारकै क्रममा उनले आज सुर्खेतमा मृत्यु भएको स्थानीय नेत्रराज बोगटीले बताए । रुप्साकै एक स्थानीयले बन्दुकले ढुकुरलाई हान्दा मकै गोड्दै गरेकी एलिसाको टाउकोमा लागेको थियो । मृतमको आजै पोष्टमाटम गरी अन्तेष्टी गरिएको छ । उनी कक्षा १० मा अध्ययनरत थिइन् । घटनाबारे अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।
null
असार नलाग्दै गलकोटमा रोपाइँको चटारो बलेवा। बागलुङको गलकोटका किसानलाई असार नलाग्दै रोपाइँको चटारो छ। सिञ्चित र दुई बाली फल्ने खेतमा रोपाइँ छिटो हुन्छ। जिल्लाकै धेरै धानखेती हुने गलकोटमा मध्य जेठबाटै रोपाइँ सुरु भएको कृषि ज्ञान केन्द्रले जनाएको छ। गलकोटको दुदिलाभाटी, नरेठाँटी र हरिचौरमा रोपाइँ सुरु भएको गलकोट नगरपालिका–२ का अध्यक्ष हिमबहादुर भण्डारीले बताए। “खोलाको पानी चिसो हुने ठाउँमा जेठको पहिलो सातादेखि रोपाइँ सुरु भयो, केही फाँटमा भने जेठको अन्तिम सातादेखि रोपाइँ हुन्छ”, भण्डारीले भने, “गलकोटमा औसत रोपाइँ जेठमै हुन्छ।” कृषि ज्ञानकेन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले बाह्रैमास सिँचाइ सुविधा पुगेका र खोला आसपासका खेतमा रोपाइँ छिटो हुने गरेको बताए। गलकोटमा भइरहेको रोपाइँ धेरै छिटो र बीउ कलिलो भएकाले उत्पादनमा क्षति हुने उनको धारणा छ। “यस वर्ष वर्षा पनि भइरहेकाले रोपाइँलाई सबैतिर सहज हुनेगरी बीउ तयार भएको छ”, उनले भने, “असारसम्ममा अधिकांश ठाउँमा रोपाइँ सकिसक्छ।” यसक्षेत्र भएर बग्ने दरमखोला र गौँदी खोलाको पानीले यहाँको ठूलो उब्जाउ भूमिलाई सिञ्चित गर्ने भएकाले रोपाइँ छिटो हुने गरेको हो। नेपालमा सामान्यतया अंग्रेजी महिना जुन १० मा मनसुन भित्रिने गरे पनि कहिलेकाहीँ भने अलि छिट्टै मनसुन सक्रिय हुने गर्छ। कृषि ज्ञान केन्द्रका अनुसार गलकोटसहित कुश्मीसेरा, खरबाङ, निसी, बुर्तिबाङलगायतका क्षेत्र छिटो रोपाइँ हुनेमा पर्छन्। रोपाइँ हुने मुख्य महिना असार भए पनि ती ठाउँमा पहिल्यै रोपाइँ सुरु भइसक्छ। मकैबाली हुने खेतमा भने किसानले मकै झिकेपछि असार अन्तिम र साउनसम्मै रोपाइँ गर्छन्। बागलुङको दक्षिण अमलाचौर, नारायणस्थान, बिहुँ, पाला, मालिका, बुर्तिबाङको उपल्लो भेगलगायतका ठाउँमा भने रोपाइँ ढिलो हुन्छ। असार लागेपछि रोपाइँ भएको क्षेत्रको विश्लेषण गरेर नियमित तथ्यांक निकाल्ने गरिएको छ। जिल्लाको कूल छ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ। त्यसमध्ये १० हेक्टरमा मात्र चैते धान लगाइन्छ। “यस वर्ष धानखेती हुने क्षेत्रफल बढ्ने अनुमान छ”, प्रमुख भट्टराईले भने, “उन्नतमा कम र स्थानीय जातकै धानमा किसानको बढी आकर्षण देखिन्छ, जिल्लाभर धानखेती हुने जमिनको तथ्यांकमा पनि घटबढ भइरहेको पाइन्छ, यसलाई हामी अध्यावधिक गर्ने चरणमा छौँ।” – रासस
नारायणीमा क्रुजसीप सञ्चालनपछि बढे पर्यटक नवलपुर। मध्य नेपालकै प्रमुख नदी नारायणीमा सञ्चालनमा आएको नेपालकै पहिलो क्रुजसीपले व्यावसायिक यात्रा प्रारम्भ गरेसँगै यस क्षेत्रमा पर्यटक आगमन वृद्धि भएको छ। क्रुजसीपका कारण नवलपुर र चितवनमा आउने पर्यटकको संख्यामा वृद्धि भएको होटल व्यवसायी बताउँछन्। गैँडाकोटको एलो हाउस रिसोर्टका सञ्चालक चीरञ्जीवी सिग्देल आफ्नो रिसोर्टमा आउने पर्यटकले क्रुजसीप चढ्न जाने गरेको बताउँछन्। “नारायणी नदीमा क्रुजसीप सञ्चालनमा आएपछि गैँडाकोटमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ” उनी भन्छन्, “केही पर्यटक घुम्न आएका बेला क्रुजसीप जाने गरेका छन् भने केही भने क्रुजसीप चढ्नकै लागि मात्र आउने गरेका छन्।” क्रुजसीप सञ्चालक संस्था राइनो वाटर इन्टरटेनमेन्ट प्रालिका व्यवस्थापक विक्रम बस्याल दैनिक तीन चरणमा क्रुजसीप सञ्चालन भइरहेको बताउँछन्। “नियमित सेडुलमा पब्लिकका लागि दैनिक तीन सिफ्ट क्रुज सञ्चालनमा छ” उनी भन्छन्, “दश जनाभन्दा बढीको समूहमा आउनेहरुका लागि उहाँहरुकै समयमा प्राइभेट क्रुज पनि सञ्चालन भइरहेको छ।” अहिले दिउँसो १, ३ र ५ बजे पब्लिक क्रुज सञ्चालनमा छ। आजदेखि ‘इभिनिङ क्रुज’ (सन्ध्याकालीन क्रुज) पनि सञ्चालन हुने व्यवस्थापक विक्रम बताउँछन्। “पछिल्लो समय बढ्दै गएको गर्मीका कारण आजदेखि इभिनिङ क्रुज सञ्चालन गर्ने तयारी गरेका छौँ” उनी उल्लेख गर्छन्, “बेलुका ६–७ बजेको समयमा सञ्चालन हुने इभिनिङ क्रुजमा सूर्यास्तको मनमोहक दृश्यावलोकन पनि गर्न सकिन्छ।” कम्पनीले यात्रुहरुको सुविधालाई ध्यानमा राख्दै केही दिनभित्रै क्रुजसीपका आकर्षण प्याकेज घोषणा गर्ने तयारी गरिरहेको छ। “देशका विभिन्न स्थानबाट व्यक्तिगत तथा सामूहिकरुपमा क्रुजसीप चढ्न यात्रुहरु आउने गरेका छन्। ” व्यवस्थापक विक्रम बस्याल भन्छन्, “सहकारी, बीमा कम्पनी र विभिन्न संघसंस्थाबाट क्रुज चढ्नकै लागि आउने गरेको हामीलाई जानकारी गराउँछन्।” प्रतिव्यक्ति रु ७०० को टिकट काटेपछि नारायणी नदीमा एक घण्टासम्म क्रुजसीपमा रमाउन पाइने उल्लेख गर्दै उनी पाँचदेखि १० वर्षसम्मका बालबालिकाका लागि रु ५०० को टिकटको व्यवस्था गरिएको उल्लेख गरेका छन्। टिकट काटेर क्रुजमा सवार गर्ने सबै यात्रुलाई ‘वेलकम ड्रिङ्क्स’ दिएर स्वागत गर्ने गरिएको र उनीहरूको रु १० लाख बराबरको बीमा गरिएको छ। साथै कुनै भवितव्य आइपरेमा लाइफ गार्डकोसमेत व्यवस्था गरिएको छ। क्रुजसीपभित्रै रेष्टुराँ सञ्चालनमा छ। बजारका होटल तथा रेष्टुराँकै मूल्यमा क्रुजसीप रेष्टुराँमा खाजा तथा खानालगायत पेयपदार्थ उपलब्ध गराइने व्यवस्थापक बस्याल बताउँछन्। क्रुजसीपभित्र रेष्टुराँसहित सांस्कृतिक कार्यक्रम गर्न आकर्षक स्टेज, बैठक तथा गोष्ठीका लागि कक्ष सेल्फी प्वाइन्ट तथा चलचित्र सुटिङ गर्न मिल्ने युनिटहरु राखिएका छन्। तीन तलाको क्रुजमा एकैपटकमा दुई सय यात्रु चढ्न मिल्ने क्षमता छ। क्रुजसीपमै बसेर विवाह, व्रतबन्ध, पास्नी, जन्मोत्सव, वैवाहिक वर्षगाँठलगायत गतिविधि गर्न सकिन्छ। नवलपुरको मध्यविन्दु नगरपालिकाबाट क्रुजसीपको यात्रा गर्न आएकी आरती शर्मा पहिलो पटक क्रुजसीप चढ्न पाउँदा निकै उत्साहित भएको बताउँछिन्। “यो नेपालकै नौलो प्रयोग हो, क्रुजको यात्रा रमाइलो हुन्छ भन्ने सुनेको थिएँ, आज आफैले अनुभव गर्न पाएँ” उनी भन्छिन्, “अहिले छोटो दूरीमा यात्रा गराइने रैछ, यात्रा गर्ने दूरी अलि बढाउँदा रमाइलोसँगै नारायणी किनारको दृश्यावलोकन पनि गर्न पाइन्थ्यो।” छोटो समयका लागि घुम्ने ठाउँको रुपमा क्रुजसीपको यात्रा उपयुक्त स्थान भएको शर्माको भनाइ छ। – रासस
नाइल नदीको किनारामा विद्यार्थीले कोरे हिमालका चित्र काठमाडाैं। विश्व वातावरण दिवसका अवसरमा नेपाली राजदूतावास, कायरोको आयोजनामा एक चित्रकला प्रतियोगिता सम्पन्न भएको छ। “जलवायु परिवर्तन र हिमालय” शीर्षकमा उक्त प्रतियोगिता इजिप्टको राजधानी कायरोमा शनिबार आयोजना गरिएको थियो। प्रतियोगितामा पाकिस्तान इन्टरनेशनल स्कुल, आइरिश इन्टरनेशनल स्कुल, माआदी ब्रिटिश इन्टरनेशनल स्कुल, कायरो अमेरिकन कलेज तथा नासेर प्राइभेट स्कुलमा अध्ययनरत विभिन्न मुलुकका दर्जनौँ विद्यार्थीको सहभागिता रहेको दूतावासले जनाएको छ। कार्यक्रममा पाकिस्तान इन्टरनेशनल स्कुलका प्रिन्सिपल सैयद तोसेफ हुसैन बोखारीले चित्रकला प्रतियोगिता आयोजना गरेकामा राजदूतावासलाई धन्यवाद दिँदै यस्ता अतिरिक्त क्रियाकलापमा हुने सहभागिताले विद्यार्थीमा लुकेको प्रतिभा प्रस्फुटन हुने धारणा व्यक्त गरे। प्रतियोगताले विद्यार्थीलाई अवसर प्राप्त भएको उल्लेख गर्दै उनीहरूले जलवायु परीवर्तनका असरबाट विश्वलाई जोगाउन मानवले चाल्नुपर्ने कदमका विषयमा समाजका साथै विश्वलाई सन्देश दिनसक्ने उनको भनाइ थियो। प्रतियोगितामा जमाल खाँनले नेपालका हिमालहरू नेपालका मात्र नभइ विश्वकै उत्कृष्ट प्राकृतिक धरोहरका रूपमा रहेकाले भावी पुस्ताको जीवनसँग जोडिएका यस्ता धरोहरलाई जलवायु परिवर्तनको असरबाट जोगाउनुपर्नेमा जोड दिए। त्यसैगरी, प्रतियोगितामा सहभागी विद्यार्थीका अभिभावक राना खालिदले नेपालका हिमाल पर्यटनका दृष्टिकोणले विश्वमै उत्कृष्ट जानकारी दिए। उहाँले साहसिक पर्यटनका लागि इजिप्टका युवा पुस्तामा आकर्षण बढ्दै गएकाले भविष्यमा इजिप्सियन युवाको प्रमुख गन्तव्यको रूपमा नेपाल रहने कुरामा आफू विश्वस्त रहेको उल्लेख गरे। अरब गणतन्त्र इजिप्टका लागि नेपालका महामहिम राजदूत सुशीलकुमार लम्सालले उक्त प्रतियोगितामा सहभागी हुने स्कुललाई सहभागिताका लागि धन्यवाद दिएका थिए। उनले प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीलाई पदक दिँदै सहभागी सबै विद्यार्थीलाई प्रमाणपत्र र नेपालको हिमाल अंकित मायाको चिनो प्रदान गरेका थिए। प्रतियोगितामा पाकिस्तान इन्टरनेशनल स्कुलमा अध्ययनरत युन्जिया झाङले प्रथम स्थान हासिल गरेका थिए। रासस
काफल बेचेर कलम कापीको जोहो गर्दै बालबालिका सिन्धुपाल्चोक। साना साना डालो, डालोभरि पाकेका राता काफल बोकेर करिब ५ घण्टाको पैदल हिँडेर सदरमुकाम झर्ने गर्छिन् डोल्मा तामाङ । उमेरको गणितले भर्खर ११ वर्ष लाग्दै गरेकी तामाङ वैशाख लागेयता यसरी नै हरेक शनिबार काफल बेच्न सदरमुकाम चौतारा धाउने गर्छिन् । डालोको काफल बेच्दै उनी चौतारा अस्पतालदेखि पुरानो बजारसम्म पुग्ने गर्छिन् । काफल बेचेर आएको पैसालाई उनले सदरमुकाम चौतारामा नै कापी कलम किन्छिन् र खुशी हुँदै घर फर्कन्छिन् । १२ वर्षीय काजी तामाङको शनिबारे बसिवियाँलो पनि डोल्माको जस्तै छ । उनी पनि डोलोभरि काफल बोकेर यसरी नै हरेक शनिबार सदरमुकाम झर्ने गर्छन् र काफल बेचेको पैसाले त्यसरी नै कापी कलम बोकेर माथि लेक आफ्नो घर सेलाङ फर्कन्छन् । काफल पाक्ने मौसम सुरु भएपछि यसरी नै जिल्लाका विकट गाउँपालिका जुगल, सेलाङका विद्यार्थी बालबालिकाहरु कापी कलमको जोह गर्न काफल बोकेर लस्करै सदरमुकाम चौतारा झर्ने गर्छन् । ‘घरमा दुख छ हामीलाई पढ्ने मन छ तर कापि कलम नहुँदा राम्ररी पढ्न पाउँदैनौं, तामाङले दुखेसो पोखे,  ‘के गर्नु बुबाआमाको राम्रो कमाई छैन।’  हुन पनि तामाङको बुबाआमाको भरपर्दाे आम्दानीको स्रोत छैन पनि । खेतीपातीमा निर्भर उनीहरुलाई त्यसको आम्दानीबाट ६ महिना खान पनि पुग्दैन । त्यसैले पनि सेलाङ र सिम्पालकाभ्रेका बालबालिकाहरु अरु दिन विद्यालय जाने र शनिबार काफल बेच्न बजार झर्ने गर्दछन् । त्यसो त उनीहरुलाई काफल बेच्न अरु बार पनि सदरमुकाम झर्न मन छ । तर, विद्यालय छोडर काफल बोकेर हिँड्नु राम्रो नभएको डोल्मा तामाङ बताउँछिन् ।  ‘अरु बार त स्कूल जान परिहाल्यो नि,’  उनले भनिन् । सेलाङबाट चौतारा र चौताराबाट सेलाङ नियमित बस पनि सञ्चालन हुँदै आएको छ । तर, काफल बेचर आएको पैसा बसभाडा तिरेरै सकिने डरले उनीहरु ४ घण्टा पैदल नै आवतजावत गर्ने गर्छन् । १३ वर्षिया म्हीनु तामाङ काफल बेचर आएको पैसाले कापी कलम किन्नु पर्ने भएकोले बस नचढेको बताउँछिन् । सरकारले मावि तहसम्मको शिक्षालाई नि:शुल्क त बनाएको छ । तर, फेरि पनि शैक्षिक सामाग्रीको जोहो गर्न नसक्दा कतिपय बालबालिकाहरु विद्यालय छाड्ने गर्छन् भने कतिपय आफैँ श्रम गर्न विवश छन् । शिक्षासँगै मनोरञ्जन पनि बालबालिकाको अधिकार हो । तर, जिल्लाका विकट एवम् ग्रामीण क्षेत्रका बालबालिकाहरु मनोरञ्जनमा समय व्यतित गर्नु पर्ने विदाको दिनमा पनि कापीकलमको जोह गर्न मनोरञ्जनको साटो श्रम गर्न बाध्य छन् । नि:शुल्क शिक्षासँगै सरकार वा सरोकार निकायले नि:शुल्क शैक्षिक सामाग्री पनि विद्यार्थीहरुलाई उपलव्ध गराउने हो भने यसरी कलिलो उमेरमा काफल बेच्नु पर्ने बाध्यता कुनै पनि बालबालिकामाथि आइपर्ने थिएन ।
दक्षिणकालीबाट जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ काठमाडौँ। काठमाडौँको दक्षिणकालीबाट जुवातास खेलिरहेको अवस्थामा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। दक्षिणकाली नगरपालिका-४ चाल्नाखेलबाट जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ७२ वर्षीय रामशरण खत्री समेत ४ जनालाई प्रहरीले पक्राउ गरेको हो। विशेष सूचनाको आधारमा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ५२ हजार ३ सय ४५ रुपैयाँ, तास, पासा गोटी १६ थान, पासा डण्डी ३ थान र पासा खेल्न प्रयोग भएको कपडाको चारपाटे पासा बोर्ड १ थानसहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
महासचिव घनश्याम भुसाललाई पितृशोक काठमाडौँ। नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसाललाई पितृशोक परेको छ। उनका पिता जगन्नाथ भुसालको आज बिहान ९७ वर्षको उमेरमा निधन भएको हो। उच्च रक्तचाप, श्वासप्रश्वास, मधुमेहलगायत रोगबाट पीडित भुसाल केही सातादेखि उपचारका क्रममा रहेको पारिवारिक स्रोतले जानकारी दिएको छ। तिलोत्तमा नगरपालिका–९ स्थित निवासमै निधन भएका भुसालका श्रीमती, चार छोरा र तीन छोरी छन्।
गर्मी बढेपछि एकसाता विद्यालय बन्द सिन्धुली। केही दिनदेखि गर्मी बढेपछि दुधौली नगरपालिकाले विद्यालय बन्द गरेको छ। गर्मीका कारण पठन–पाठनमा समस्या भएको जनाउँदै नगरपालिकाले एक साताका लागि विद्यालयमा गर्मी बिदा दिएको हो। नगरप्रमुख दिनश अधिकारीले गर्मीका कारण पठनपाठनमा समस्या भएको जनाउँदै एकहप्ता सामुदायिक र संस्थागत विद्यालय बन्द गर्न निर्देशन दिएको जानकारी दिए। हाल सञ्चालन भइरहेको कक्षा ११ को परीक्षा भने यथावत रहने उनले बताए।
थाहा पाउनुहाेस् आजको मौसम काठमाडौं। हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भू-भागको ‍एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। राति भने देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागका ‍एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको अधिकांश भू-भागको अधिकतम र न्यूनतम तापक्रम बढ्ने सम्भावना रहनुका साथै देशको पहाडी भू-भागको ‍एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकोले अत्याधिक गर्मी तथा मेघगर्जन र चट्याङबाट हुन सक्ने क्षति वा जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ।
दुर्घटनामा दुई युवकको मृत्यु लुम्बिनी । पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका–१२ तामनगरमा आज भएको सवारी दुर्घटनामा हुँदा दुई युवकको मृत्यु भएको छ । बुटवलबाट कपिलवस्तुतर्फ जाँदै गरेको लु १ ख ९०६३ नम्बरको बस र बुटवलतर्फ आउँदै गरेको लु ३९ प ९१५७ नम्बरको मोटरसाइकल तामनगरस्थित कोरियन टेक्निकल कलेज नजिक एक आपसमा ठक्कर खाएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गुल्मी मालिका गाउँपालिका–४ अर्खवाङका १७ वर्षीय सुजन अर्याल र मालिका गाउँपालिका–८ सिमलटारीका २६ वर्षीय प्रकाश पन्थीको मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक अमृत भण्डारीले जानकारी दिए । दुर्घटनामा परी घाइते दुवै जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक भण्डारीले बताए । ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको छ ।
null
गाडीबाट खसेर भक्तपुरमा एक जनाको मृत्यु भक्तपुर। भक्तपुरको सल्लाघारी हनुमन्ते पुल नजिकै गुडिरहेको गाडीबाट खसेर शनिबार एकजनाको मृत्यु भएको छ । राधेराधेबाट निकोसेरातर्फ  जादै गरेको बा २१ च ५३०१ नं.को हात्ती गाडीमा पछाडि सवार हाल नामथर, वतन नखुलेको बर्ष अं. ४०/४५ की महिला गाडी गुडिरहेको अबस्थामा अचानक खसी मृत्यु भएको हो । प्रहरीका अनुसार दुर्घटनापछि गम्भीर घाईते भई उपचारको लागि डा. ईवामुरा अस्पताल लगेकोमा उपचारको क्रममा मृत्यु भएको हो । घटनापछि सवारी चालक काभ्रे भुम्लु गाउँंपालिका ३ घर भई हाल ललितपुर ईमाडोल बस्ने बर्ष ३० को  सूर्यबहादुर पहरीलाई प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरू भएकाे छ ।
रिहान मिया : जाे २२ बर्ष मै उद्योग खोलेर सामान निर्यात गरिरहेका छन् नेपालगञ्ज। आजकाल उनको चर्चा परिचर्चा सुरु हुन थालेको छ । उनको यो चर्चा र परिचर्चा परिवार र आफान्तजनमा मात्रै सिमित छैन, यो चर्चा परिचर्चा अव विस्तारै ब्यावसायिक क्षेत्रमा पनि हुन थालेको छ। भन्न थालेका छन, यति सानै उमेरमा यो स्तरको सफलता ! उनी हुन् रिहान मिया, उमेर २२ बर्ष । उनले हालै आफनो मिडलाज ग्रुपको प्लाईउड उद्योगवाट उत्पादित समान भारतमा निर्यात गर्न थालेपछि उनको चर्चा परिचर्चा हुन थालेको हो । नेपालगञ्जका ब्यवासायी तथा उद्यमीहरुले उनले भारतमा आफनो प्लाईउड निर्यात गर्न थाले पछि उनलाई बधाई दिई रहेका छन् । सानै उमेरमा उद्योग खोलेर त्यसमाथी नेपालमा उत्पादित समान भारतमा निर्यात गर्न थाले पछि भन्न थालेका छन, ‘रिहानले अब केही गर्छ ।’ ‘पहिलो पटक मेरो उद्योगवाट भारतमा प्लाईउड निर्यात गर्‍यो, भारतीय ग्राहकले मन पराए पछि पुनः अर्डर आएको छ, त्यो अर्डर पुरा गर्नका लागि पुनः हामी काम गरिरहेका छौं’ उनले भने । उनका अनुसार भारतवाट आएको माग र नेपालवाट आएको माग पुर्‍याउन हम्मे हम्मे भएको छ । उनले पहिलो अर्डरको समान निर्यात गरे र हाल दोस्रो अर्डरका लागि धमाधम काम गरिरहेका छन् । ‘कतिसम्म भने तपाई जति पनि उत्पादन गर्नुहोस, हामी लिन्छौं भनेर भारतीय ब्यापारीले भनेका छन तर उनीहरुको अर्डर अनुसार हामी उत्पादन गर्न सक्ने अवस्था अहिले छैन् तर पछि उनीहरुको माग अनुसार उत्पादन गर्ने गरी काम गरिरहेका छौं ।’ ‘झन भारतमा समान निर्यात गरे पछि धेरै मान्छेहरुले मलाई भेटेर भनेका छन, भारतमा निर्यात गरे जस्तै गुणस्तरीय प्लाईउड हामीलाई पनि दिनुहोस् ।’ उनको उद्योग जानकी गाउँपालिका–३ मा छ । उनले आफनो उद्योगमा प्रत्यक्ष र अप्रत्यक्ष गरी ४०–५० जनालाई रोजगारी पनि दिएका छन् । उनी हिजो आयाति समानको नेपालमा बिक्रि बितरण गर्दथे, आजकाल उनी निर्यात गर्न सुरु गर्न थालेका छन् । यसो भन्दा पनि हुन्छ, आयात गर्ने स्थानवाट उनी निर्यात गर्ने स्थानमा पुगेका छन् । प्लाई उड उद्योग खोल्नुको पनि एउटा रोचक संयोग छ । ‘खासमा म आयातित समानहरुको विक्रि बितरण गर्दै आएको मान्छे हुँ, अहिले म निर्यात गर्ने अवस्थामा पुगेको छु,’ उनले भने । उनका अनुसार यसअघि उनी भारतीय कम्पनि अमुलको समानहरु विक्रि गर्दथे । नेपालमा अमुलको समान विक्रि वितरण गर्ने तीनवटा कम्पनि मात्रै छ, जसमध्ये एउटा उनको पनि हो । अमुलको समान एउटा बिशाल ग्रुपले विक्रि गर्छ भने अर्को गुरमितले गर्दै आएको छ । ‘तेस्रो चाँही मेरो मिडलाज ग्रुप हो’ अमुलको आयातित समान बिक्री बितरण गर्न थालेको दुई बर्ष जति मात्रै भएको थियो, सरकारले विलासिताको समान आयातमा रोक लगाए पछि उनका लागि नयाँ ब्यवसाय रोज्नु पर्ने अवस्था आयो । ‘एउटा बैंकले जग्गा लिलाम गर्न लागेको रहेछ, त्यो जग्गा सकार्ने काम सुरु भयो, त्यो कामले फाइनल टच पाउन लगभग २ बर्ष जति लाग्यो,’ उनले भने, ‘आफनो अलिकति सम्पति बेचेर र बैंकवाट ऋण लिएर यो उद्योग खोलेका हौं ।’ त्यसपछि दुई बर्षमा निर्यात गर्ने अवस्था पुगेको हो । खासमा उनको पुख्र्यौली घर कास्की पोखरा हो, ब्यापारको सिलसिलामा उनको पिता रहमान मियाँ नेपालगञ्ज आए पछि उनी यतै जन्मे हुर्के । ‘मेरो घरजग्गा र आफान्त अहिले पनि पोखरामा हुनुहुन्छ, हामी बेला बेलामा गईरहन्छौं’ उनले भने ‘हाम्राे परिवार धेरै गरीबीमा चलेकाे थियो, मेरो बुबा रहमान मिया कामको सिलसिलामा २०३४ साल तिर हुम्ला जानु भयो र कामको विवरण भन्नु पर्दा तीन दिन को समय लगाएर हिड्दै ‍अरुको सामान बोकि पुर्याउनु हुन्थ्यो, पछि  हुम्लामा नै सानो किराना पसल खोल्नु भयो, केही समय राम्रो ब्यापार पनि भयो,’ उनले  बिगत सुनाए, ‘र, केहि जम्मा भएका पैसा लिएर २०५५ सालमा नेपालगन्ज आई पुलिस आर्मि लाई राशनको ठेक्का परे पछि उक्त कामको सुरुवात भयो ।’ त्यसपछि उनकाे बुवाले जग्गा किनि प्लटिङ्को काममा हात हाले । साेही समयमा उनका पीता २ कार्यकाल नेपालगन्ज जामा मस्जिदको अध्यक्ष समेत बने, जसले उनकाे पीताकाे सामाजिक छबि स्थापित भयाे । बुबा पनि ब्यावसायमा लागेकाले उनलाई पनि क्रमशः व्यावसायतिर नै मन जान थाल्यो । त्यसैले उनी नौ कक्षा देखी नै ब्यापार ब्यावसायमा लागे । सुरुमा उनले मोबाईलको फाइबर स्क्रिन प्रोटेक्टरको उत्पादन गरे र व्यक्तिगत रूपमा मार्केटिङ अभियानहरू सुरु गरें, झोलामा नमूनाहरू बोकेर आफै बजारहरू धाए। केहि समय पछी उक्त काम दाजुलाई सुम्पिए । त्यसपछि दाजुसँग अलग भएर उनले अमुलको आयातित समानको बिक्री बितरण गर्न सुरु गरे । त्यो पनि विलासिताको समानमा आयातमा सरकारले प्रतिबन्ध लगाए पछि उनले प्लाईउड ब्यावसायमा हात हाले । जुनमा उनले क्रमशः सफलता हासिल गर्दै निर्यात गर्ने अवस्थामा पुगे ।
धनकुटामा जंगली च्याउँ खाएर आमा छोराको मृत्यु धनकुटा। जंगली च्याउ खाएर बिरामी भएका मध्ये थप एकको मृत्यु भएको छ । जंगली च्याउँ खाएर हिजो आमाको निधन भएको थियो भने आज उपचारको क्रममा छोराका पनि मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार जंगली च्याउ खाएर मृत्यु हुनेमा सहिदभूमि गाउँपालिका-३ घर भइ हाल धनकुटा नगरपालिका–७ चुली वनमा बस्दै आएका २८ वर्षीया मुना राईकोर उनका ७ वर्षका छोरा सचिन रहेका छन । गत सोमबार जंगलबाट च्याउ ल्याएर खाएका आमा छोरा अत्यधिक बान्ता र झाडापखालाबाट गम्भीर बिरामी परे पछि उपचारका लागि धनकुटा जिल्ला अस्पतालमा ल्याईएको थियो । तर, त्यहाँ पनि उपचार सम्मभ नभए पछि दुवैजनालाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याईएको थियाे । तर, उपचारकाे क्रममा शुक्रबार आमाको निधन भएको हो भने ७ बर्षिया छोरा सचिनको आज निधन भएको हो ।
कोभिड-१९ को मापदण्ड परिमार्जन, अब मास्क स्वेच्छिक काठमाडाैं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड-१९ को सङ्क्रमण दर घटदै गएपछि स्वेच्छिक रुपमा मास्कको प्रयोग गर्न आग्रह गरेको छ। मन्त्रालका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा समिरकुमार अधिकरीले एक सूचना जारी गर्दै सङ्क्रमण दर घट्दै गएपछि कोभिड-१९को मापदण्ड परिमार्जन गर्दै मास्कको प्रयोगलाई स्वेच्छिक बनाएको बताए। यसअघिसम्म मास्क प्रयोग अनिवार्य थियो। मन्त्रालयले सङक्रमण दर न्यून भएपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय यात्रुले कोभिड-१९ को परीक्षण गरेको र कोभिड-१९ को विरुद्धको खोप लगाएको प्रमाण आवश्यक नभएको समेत बताए। उनले अब कोभिड-१९ को कडाइको रुपमा मापदण्ड पालना गर्नुपर्नेलाई सहज गर्दै अन्तर्राष्ट्रिय नाकामा खोप कार्ड र परीक्षण कार्ड आवश्यक नपर्ने जानकारी दिए। मन्त्रालयले कोभिड-१९ को सङ्क्रमण दर र अस्पतालमा भर्ना दरमा उल्लेखनीय कमी आएको र अधिकांश मानिसले कोभिड-१९ को पूर्णमात्रा खोप लगाइसकेको अवस्था र छिमेकी मुलुक भारतमा पनि कोभिड-१९ को सङ्क्रमण दर न्यून रहेकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय यात्रुले कोभिड-१९ परीक्षण र कोभिड-१९ विरुद्धको खोप लगाएको प्रमाणपत्र चाहिने व्यवस्था हटाएको हो। मन्त्रालयले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका तत्कालिन निर्देशक डा चुमनलाल दास संयोजकत्वमा गठित विज्ञ टोलीले अर्को सूचना नभएसम्मका लागि कोरोना परीक्षण र खोप लगाएको प्रमाणपत्र नचाहिने सिफारिस गरेको थियो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसका विरामीलाई नियमित निगरानी र जोखिममा रहेका शंकास्पद यात्रुको स्क्रिनिङ भने गरिने उल्लेख गरेको छ। मन्त्रालयले कोरोना महामारी रोकथाम, नियन्त्रण र उपचार व्यवस्थापनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट भएको सहयोगप्रति कृतज्ञता व्यक्त गरेको छ।
आजको मौसमः अत्याधिक गर्मी हुने भएकाले सतर्कता अपनाउन अनुराेध काठमाडौं। हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ। दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा देशका बाँकी पहाडी भू-भागका ‍एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। राति भने देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेशका पहाडी भू-भागका ‍एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको अधिकांश भू-भागको अधिकतम र न्युनतम तापक्रम वढ्ने सम्भावना रहनुका साथै कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा देशका बाँकी पहाडी भू-भागका ‍एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकोले अत्याधिक गर्मी तथा मेघ गर्जन र चट्याङ्गबाट हुन सक्ने क्षति वा जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ।
जङ्गली च्याउ खाएर आमाछोराको मृत्यु धनकुटा । धनकुटामा जङ्गली च्याउ खाएर एक महिला र उनकी सात वर्षीय नाबालक छोराको उपचारका क्रममा मृत्यु भएको छ । सहिदभूमि गाउँपालिका–३ घर भई हाल धनकुटा नगरपालिका–७ मा डेरा गरी बस्ने २८ वर्षीया मुना राई र उनका छोरा सचिन राईको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला अस्पताल धनकुटामा उपचार हुन नसकी धरान रेफर गरिएका उनीहरूको उपचारका क्रममा बिहान ९ः१५ बजे आमाको मृत्यु भएको प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवरले जानकारी दिए । सिकिस्त रहेका उनीका छोराको पनि आइसियु कक्षमा उपचारका क्रममा बेलुकी मृत्यु भएको छिमेकी भोगेन्द्र राईले जानकारी दिए । प्रहरी सञ्चार शाखाका अनुसार मृतकले यही जेठ १५ गते धनकुटा–७ मा रहेको चुलिवन जङ्गलबाट जङ्गली च्याउ ल्याएर खाएका थिए । च्याउ खाएपछि बिरामी परेका उनीहरू जिल्ला अस्पताल धनकुटामा उपचारका लागि भर्ना भएका थिए । जिल्लामा उपचार हुन नसकेपछि १८ गते उनीहरूलाई थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रेफर गरिएको थियो । उपचारमा संलग्न जिल्ला अस्पतालका डा डुराण्ड सिंह खड्काका अनुसार पखला लाग्ने र बान्ता हुने समस्या लिएर बुबाआमा र छोरा अस्पताल आएका थिए । उपचारपछि बुबा ठीक भएर आमा छोराको स्याहारमा रहेका थिए भने आमा छोराको स्वास्थ्यमा सुधार भइरहेको थियो । अचानक आज मृतक आमाको रक्तचाप कम भई बेहोसीको अवस्था छाएको र छोराको मिर्गौलामा समस्या देखापरेको थियो । त्यसपछि भने थप उपचारका लागि धरान रेफर गरिएको डा खड्काले जानकारी दिए ।रासस
जुम्लामा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु जुम्ला । जुम्लामा शुक्रबार ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको तिला गाउँपालिका–५ स्थित चुलाकोट गाउँका १६ वर्षीय विकाश सुनार रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीले जानकारी दिए । मृत्युक सुनारको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । प्रहरीका अनुसार आज दिउँसो २ बजेतिर यहाँको तातोपानी गाउँपालिका–६ चिमलडाँडाबाट ढुङ्गा बोकेर रावतवाडा जाँदै गरेको लु ४ त ७९४८ नम्बरको ट्याक्टर अनियन्त्रित हुँदा दुर्घटना भएको हो । ट्याक्टर सडकभन्दा ५० मिटर तल खसेको छ । दुर्घटनापश्चात फरार चालकको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।
गर्मी बढेसँगै चितवनका छ पालिकाका विद्यालय बन्द चितवन। जिल्लाका छ पालिकाले विद्यालय बन्द गरेका छन् । गर्मी बढेसँगै पालिकाले विद्यालयमा बिदा दिन थालेका हुन् । भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका, राप्ती नगरपालिका, कालिका नगरपालिका र माडी नगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । चितवनमा आजको अधिकतम तापक्रम ३९ डिग्री मापन गरिएको छ । सबै पालिकाले स्थानीय बिदा र वर्षे बिदाबाट कटौती हुने गरी पाँच दिन विद्यालय बन्द गरेका छन् । चार वटा पालिकाले आजदेखि जेठ २४ गतेसम्म विद्यालय बन्द गरेका हुन् । जेठ १९ गते स्थानीय बिदा र २१ गतेदेखि २४ गतेसम्म वर्षे बिदामा कट्टी हुनेगरी विद्यालय बन्द गरिएको पालिकाद्वारा जारी सूचनामा उल्लेख छ । रत्ननगर, खैरहनी, राप्ती र माडीले यसरी बिदा गरेका हुन् । भरतपुर महानगरपालिका र कालिका नगरपालिकाले जेठ २१ गतेदेखि २६ गतेसम्म विद्यालय बन्द गरेका हुन् । वर्षे बिदाबाट कट्टा हुने गरी विद्यालय बन्द गरिएको ती पालिकाका शिक्षा शाखाद्वारा जारी सूचनामा उल्लेख छ । खैरहनी नगरपालिकाले नियमित सञ्चालन भइरहेका परीक्षालाई भने यथावत सञ्चालन गर्ने निर्णय गरेको नगर शिक्षा अधिकारी राजु बानियाँले जानकारी दिए । गर्मीका कारण विद्यार्थीलाई विद्यालय आउन जान असहजता सिर्जना भएकाले विद्यालय बन्द गरिएको पालिकाले जनाएको छ ।
मुगुमा बच्चा जन्माउन नसक्दा महिलाको मृत्यु मुगु । मुगुमा बच्चा जन्माउन नसक्दा एक महिलाको मृत्यु भएको छ ।  छायाँनाथ रारा नगरपालिका वडा नं १० झाकोटकी ३० वर्षीषा राजु नेपालीको  बच्चा जन्माउन नसक्दा मृत्यु शुक्रबार मृत्यु भएको हो । बिहीबार  घरमा सुत्केरी हुन नसकेर जिल्ला अस्पताल मुगुमा आएकी थिइन् । जिल्ला अस्पताल मुगुले जारी गरेको विज्ञप्तिअनुसार पिसाव संक्रमण र बच्चा पाउने ब्यथा लागेर नेपाली बिहीबार अस्पतालमा भर्ना भएकी थिइन् ।
राप्रपाकाे युवा संगठनद्वारा भारतीय दूतावास अगाडि प्रदर्शन (फाेटाेफिचर) काठमाडौं। राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण नेपालले भारतबाट नेपालको राष्ट्रिय अखण्डता र स्वाभिमानमाथिको प्रहार भएको भन्दै विरोध प्रदर्शन गरेको छ। लैनचौरस्थित नेपालका लागि भारतीय दूतावास अगाडि शुक्रबार प्रदर्शन गरेको संगठन संयोजक सुजित केसीले जानकारी दिए। भारतको नयाँ संसद भवनमा राखिएको ‘अखण्ड भारत’ नक्सामा नेपालको लुम्बिनी, कपिलवस्तु र विराटनगर उल्लेख गररेर भारतले नेपालको राष्ट्रिय अखण्डता र स्वाभिमानमाथिको प्रहार गरेको विरोधमा दूतावास अगाडि प्रदर्शन गरेको उनले बताए। सोही क्रममा ‘अखण्ड भारत’ नक्सासमेत जलाएको संयोजक केसीले जानकारी दिए। यसअघि संगठनले विज्ञप्तिमार्फत् सो नक्सा सच्याउन माग गरेको थियो भने उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापनपत्रसमेत बुझाएको थियो । तर, भारतले सो नक्सा नसच्याएपछि आन्दोलनमा उत्रिनुपरेको संयोजक केसीले बताए।
अवैध रुपमा लुकाई छिपाई लैजान लागेका अमेरिकी डलरसहित एक व्यक्ति पक्राउ काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा बाह्यय मुलुक लैजादै गरेको अमेरिकी डलरसहित एक व्यक्ति पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषा जनकपुर उपमहानगरपालिका-१ शिवपथ स्थायी वतन भएका ४६ वर्षीय सन्तोष कुमार चौधरी रहेका छन्। अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा बाह्यय मुलुक लुकाई छिपाई लैजान लागेको ८ हजार ७ सय अमेरिकी डलरसहित चौधरीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। नेपाल एयरलाईन्सको उडानद्वारा काठमाडौंबाट बैङलोर जान लागेका चौधरीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्‍याण्ड ब्यागेज चेकिङ एरियामा प्रहरीले जाँच गर्ने क्रममा उक्त अमेरिकी डलर लुकाई छिपाई लैजान लागेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पठाइएको छ।
आफ्नै बुबाको हत्या गरेको अभियोगमा छोरा पक्राउ ईलाम। आफ्नै बुबा हत्या गरेको अभियोगमा प्रहरीले छोरालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा माई नगरपालिका-२ चेप्टी बस्ने ३२ वर्षीय दिपक कुमाल रहेका छन्। दिपकले जेठ ८ गते अंश बण्डाको विषयमा विवाद भई कुटपिट गर्दा ७० वर्षीय बुबा लोक बहादुर कुमाल गम्भीर घाइते भएका थिए। गम्भीर घाइते भएका बुबा कुमालको बिर्तासिटी अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय ईलामबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न दिपकलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
अनलाइनमार्फत ठगी गर्ने कार्यमा संलग्न २३ वर्षीय युवक पक्राउ काठमाडौँ। सामाजिक संजाल फेसबुकमार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा एक युवकलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा सप्तरी बोदेबरसाइन नगरपालिका-१४ घर भई काठमाडौं महानगरपालिका-२२ सुन्धारा बस्ने २३ वर्षीय धर्मेन्द्र कुमार साह रहेका छन्। सामाजिक संजाल फेसबुकमार्फत सम्पर्कमा आएकी केटी साथीको अनुमति बिना पीडितकै मोबाईल लिएर मोबाईल बैंकिङ तथा खातामा पहुँच पुर्‍याई विभिन्न ईसेवा तथा खल्ती वालेटमा रकम ट्रान्सफर गरी अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको खुल्न आएपछि उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा पठाइएको छ।
कुमाल बस्तीका बालबालिकालाई आधारभूत शिक्षा लिनै समस्या भोजपुर। भोजपुरको मोथेटार कुमाल बस्तीका बालबालिकालाई आधारभूत शिक्षा लिन नै समस्या हुने गरेको छ । राज्यले स्वास्थ्य, शिक्षा, आवास, खानेपानीलगायतलाई आधारभूत आवश्यकताका रूपमा राखे पनि यहाँका बासिन्दा ती आधारभूत आवश्यकताबाटै बञ्चित हुँदै आएका छन् । षडानन्द नगरपालिकाको वडा नं ६ अरुण नदी किनारमा रहेको यो बस्तीका करिब ३५ घरपरिवारलाई आधारभूत सेवा लिन नै समस्या छ । यहाँका स्थानीयलाई शिक्षा र स्वास्थ्यको सेवा लिन अत्यन्तै समस्या छ भने कतिपय परिवारको आफ्नो जमिन छैन । नदी किनारको बस्ती भएकाले यहाँका परिवारले कुटो, कोदालो, माटाको भाँडा तथा अरूण नदीमा माछा मारेर जीवनयापन गर्दै आएका छन्।उनीहरूलाई बिहान बेलुकाको छाक टार्नै समस्या हुने गरेको छ । गरिबीका कारण कुमाल समुदायका अधिकांश बालबालिका शिक्षाको पहुँच बाहिर रहेको स्थानीय जानकारहरूको भनाइ छ । यहाँ जनचेतना आधारभूत विद्यालयमा कक्षा ३ सम्म अध्ययन हुने भए पनि बालबालिका भने कमैमात्र विद्यालय जाने गरेका छन्। यो बस्तीमा रहेको गरिबी तथा भौगोलिक विकटताका कारण बालबालिका शिक्षाको पहुँचबाट बाहिर रहेको दिङ्लका समाजसेवी प्रकाश पौडेलले जानकारी दिए । यो ठाउँका बालबालिकाले आधारभूत शिक्षा लिए पनि उच्च शिक्षा लिनका लागि झनै समस्या रहेको उहाँको भनाइ छ । त्यहाँका बालबालिकालाई सङ्खुवासभाको तुम्लिङटार जानुपर्ने बाध्यता रहेको समाजसेवी पौडेलले जानकारी दिनुभयो । सङ्खुवासभा जानलाई पनि अरुण नदीमा पुल नहुँदा सास्ती छ । “मोथेटारका बालबालिकालाई शिक्षाको सहज पहुँच छैन”, उनले भने, “पहिलो कुरा त यहाँ अशिक्षा र गरिबी छ । केही बालबालिका विद्यालय गए पनि उच्च शिक्षा लिन उनीहरूलाई समस्या छ । उच्च शिक्षा लिन जोखिम मोलेर सङ्खुवासभा जानुपर्ने अवस्था छ ।” अर्थाभावको समस्यालाई झेल्दै केही बालबालिकाले प्राथामिक शिक्षा हासिल गरे पनि कक्षा ५ माथिको शिक्षा हासिल गर्न धेरै समस्या रहेको सो विद्यालयकी शिक्षिका टीका श्रेष्ठले बताइन्। साना बालबालिकालाई कक्षा ३ पछिको शिक्षा लिन तीन घण्टा बढी समय लगाएर अरुण माध्यमिक विद्यालय तथा सङ्खुवासभा जिल्ला जानुपर्ने बाध्यता रहेकाले धेरै बालबालिकाले विद्यालय छाड्ने गरेको शिक्षिका श्रेष्ठले जानकारी दिइन्। शिक्षिका श्रेष्ठले भनिन्, “मुख्य समस्या त बालबालिका नै विद्यालय आउन मान्दैनन् । आएर कक्षा ३ पास गरेकालाई अन्य विद्यालय जान समस्या छ । सात–आठ वर्षका बालबालिकालाई तीन–चार घण्टा लगाएर अन्य ठाउँमा जानुपर्ने अवस्था छ । जसले गर्दा विद्यालय छाड्ने दर बढेको देखिन्छ ।” उनीहरूलाई सङ्खुवासभाको तुम्लिङटार जान केही नजिक भए पनि अरुण नदीमा पुल नहुँदा जोखिम मोलेर डुङ्गा चढेर नदी पार गरेर विद्यालय जानुपर्ने अवस्था छ । डुङ्गा पनि हिउँदको समयमा मात्र चल्ने र बर्खा लागेपछि बन्द हुन्छ । अरुण नदीमा पुल नहुनु स्थानीयका लागि निकै ठूलो समस्या रहेको शिक्षिका श्रेष्ठको भनाइ छ । राज्यले निःशुल्क शिक्षाको व्यवस्था गरेको भए पनि यस समुदायका बालबालिकामा शिक्षाको पहँुच विस्तार हुन नसकेको देखिन्छ । परिवारका अभिभावक नै अशिक्षित भएका कारण उनीहरूले आफ्ना छोराछोरीलाई विद्यालय पठाउन नमान्ने स्थानीयवासी कृष्णबहादुर कुमालले जानकारी दिए। अभिभावकले बालबालिका अलिक ठूला भएपछि आफ्नै पेसामा काम गर्न लगाउने गरेका छन् । पैतीस घर कुमाल बस्तीमा करिब ७० जनाको हाराहारीमा विद्यालय समूहका बालबालिका रहे पनि दशभन्दा बढी बालबालिका शिक्षाको पहुँचभन्दा बाहिर रहेको उहाँको भनाइ छ । कक्षा ३ पास गरेपछि विद्यालय छाड्ने बालबालिको ङ्ंख्या अझ बढी रहेको स्थानीय कुमालले बताए। “यो ठाउँमा स्वास्थ्य शिक्षा र यातायातको धेरै नै समस्या छ”, स्थानीय कुमालले भने, “बस्तीमा स्वास्थ्यचौकी छैन । साधारण स्वास्थ्य सेवा लिन दिङ्ला तथा सङ्खुवासभा जानुपर्ने बाध्यता छ । बालबालिकालाई विद्यालय जान त्यस्तै समस्या छ । अर्थावस्था कमजोर छ । समस्याको बीचबाट जीवन गुजारा गर्दै आएका छौँ । हाम्रो मुख्य आयस्रोत भनेको माटाको भाँडा बनाउने पेसा हो । बनेका भाँडालाई सहजरूपमा बजारसम्म लैजाने अवस्था छैन । कतिपयले अब त पेसा पनि छाडिसके ।” कुमाल समुदायमा शिक्षाको चेतना फैलाउँदै यहाँ सहज आधारभूत पुर्याउनका लागि पहल भइरहेको षडानन्द नगरपालिका वडा नं ६ का वडाध्यक्ष सुमन विशुन्केले बताए । खास गरेर स्थानीयमा रहेको अशिक्षाको कारण पनि बालबालिका शिक्षाबाट बञ्चित हुने गरेको उनको भनाइ छ । कतिपय कुमाल समुदायका मानिसले नागरिकतासमेत बनाउन नचाहने वडाध्यक्ष विशुन्केले बताए। नागरिकता बनाउन वडाले पहल गर्दासमेत नागरिकताको काम नै छैन भन्दै बनाउन नआएको वडाध्यक्ष विशुन्केले जानकारी दिए। आफ्नै पहलमा सात जनाको नागरिकता बनाइदिएको उनको भनाइ छ । कुमाल बस्तीमा रहेको समस्या समाधानमा नगरपालिकाले योजनाबद्धरूपमा काम गरिरहेको षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्रकुमार उदासले जानकारी दिए। यहाँका नागरिकलाई आधारभूत आवश्यकताबाट बञ्चित हुन नदिन नगरपालिका लागिपरेको उनको भनाइ छ । “नगरपालिकालाई समृद्ध बनाउने अभियानमा हामी जुटेका छौँ”, उनले भने, “अरुण नदीमा पुल नहुँदा हाम्रो उत्तरी क्षेत्र नै पछाडि परेको अवस्था छ । यहाँका प्रत्येक समस्याको समाधानमा नगरपालिकाले काम गरिरहेको छ ।” गरिबी तथा भौगोलिक विकटता कारण समस्या रहेका मानिसलाई लक्षित गरेर आगामी दिनका कार्यक्रम सञ्चालन गर्ने सोच रहेको नगर उपप्रमुख प्रमिला राईले बताइन्।रासस
लमजुङ कारागारबाट फरार दुबै जना कैदी पक्राउ लमजुङ । लमजुङ कारागारबाट रातारात फरार भएका दुबै जना कैदी पक्राउ परेका छन् । फरार मध्यका जवरजस्ती करणी मुद्दाका मध्यनेपाल नपा–४ लमजुङका २७ वर्षीय विनोद विकलाई बिहीबार करिब ९ घण्टाको अवधिमा प्रहरीले बेसीशहर नपा-२ चिसापानीको जंगलबाट पक्राउ गरेको थियो । अर्का फरार रहेका गोरखा चुमनुब्री गापा- ३ का चन्द्र बहादुर गुरुङलाई बिहीबार राति साढे ११ बजे बेसीशहर नपा–१ चिप्लेटीमा लुकिछिपि बसीरहेको अवस्थामा पक्राउ गरेको लमजुङका प्रहरी प्रमुख डिएसपी प्रकाश श्रीमलले बताए । गुरुङ ठगी मुद्धामा पुर्पक्षका लागी कारागार चलान भएका थिए । दुबैलाई कानुन अनुसार थप कारबाहि अघि बढाइने प्रहरीले जनाएको छ । बेसीशहर नपा–८ शेरा स्थित कारागारको उत्तर पश्चिम तर्फको कैदी आवासको पर्खाल नाघेर रातको साढे १ बजे २ कैदी फरार भएका थिए । कारगारमा हाल ८८ जना कैदिबन्दी छन् । जसमध्ये ६ जना महिला र ८२ जना पुरुष छन् ।
उपत्यका बाहिरका सवारीसाधन नयाँ बसपार्कबाट सञ्चालन गर्नुपर्ने काठमाडाैं काठमाडौं महानगरपालिकाले उपत्यका बाहिर चल्ने सम्पूर्ण सवारीसाधन गोँगबुस्थित नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्नुपर्ने जनाएको छ। महानगरपालिकाले आज सूचना जारी गरी काठमाडौंबाट उपत्यका बाहिर चल्ने लामो, मध्यम र छोटो दुरीका सवारीसाधन गोँगबुस्थित नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्नुपर्ने जनाएको हो। जभाभावी पार्किङ गर्ने, टिकट बुकिङ गर्ने काउन्टर यथावत राख्ने, सडकमा जथाभावी यात्रु चढाउने तथा ओराल्ने गतिविधिले यातायात व्यवस्थापन प्रणालीमा अवरोध पुगेको उल्लेख गर्दै महानगरले व्यवसायीलाई सवारीसाधान गोँगबु बसपार्कबाट मात्र सञ्चालन गर्न आग्रह गरेको हो काठमाडौं महानगरपालिकाले आगामी असार १ गतेदेखि नयाँ बसपार्क बाहिर रहेका टिकट काउन्टर हटाउन आग्रह गरेको छ। “काठमाडौंबाट उपत्यका बाहिर लामो, मध्यम तथा छोटो दुरीमा सञ्चालन हुने यात्रुवाहक सवारीसाधन नयाँ बसपार्कबाट मात्र छुट्नुपर्ने व्यवस्था कार्यान्वयनका विषयमा सरोकारवाला सबैसँग  आग्रह गरिन्छ”, महानगरपालिकाद्धारा जारी सूचनामा उल्लेख छ। बैठकले निर्णय गरिसकेपछि पनि अनाधिकृत स्थानमा पार्किङ गर्ने, टिकट बुकिङ गर्ने काउन्टर यथावत् राख्ने, सडक खण्डमा जथाभावी यात्रु चढाउने तथा ओराल्ने गतिविधिले यातायात व्यवस्थापन प्रणालीमा सुधार आउन नसकेको महानगरले जनाएको छ। धुलिखेल, बनेपा, साँखुसम्मको सडक इजाजत पत्र लिएका लामो दूरीका सवारीसाधनलाई पनि कलङ्कीदेखि जडीबुटीसम्म सवारी रोक्न निषेध गरिएको महानगरले जनाएको छ। सूचनाको अटेरी गरे असार १ गतेदेखि ट्राफिक प्रहरीसँग समन्वय गरी महानगर प्रहरीले नियमानुसार कानुनी कारबाही गर्नेसमेत  महानगरको सूचनामा उल्लेख छ।
थाहा पाउनुहाेस् आजको मौसम काठमाडौं। हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानूमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ। देशको पहाडी भू-भागको एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा देशका बाँकी पहाडी भू-भागका ‍एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। राति भने देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका ‍एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
नयाँ संसद् भवन निर्धारित समयमा सम्पन्न गर्न सभामुखको निर्देशन काठमाडौं। सभामुख देवराज घिमिरेले निर्माणाधीन नयाँ संसद् भवन निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिएका छन्। सिंहदरबार परिसरभित्र निर्माणाधिन भवनको आज स्थलगत अवलोकन गर्ने क्रममा उनले निर्माणका लागि अनुकूल वातावरण रहेको बेला काममा ढिलाई नगर्न निर्देशन दिए। उनले भने, “अब यस भवन निर्माणले गति लिन्छ, लिनुपर्छ । हिजोको प्रतिकूलता आज अनुकूलतमा परिवर्तन भएको छ । निर्माणका लागि पेमेन्ट, एलसी खुल्नेदेखि सामानको अर्डर गर्ने अनुकूलत वातावरण बनेको छ । यस कारण पनि निर्धारित समयमै निर्माण हुनुपर्छ ।” अवलोकनका क्रममा सहरी विकासमन्त्री सीता गुरुङले निर्धारित समयमा निर्माण सम्पन्न गर्नुको विकल्प नभएको बताइन्। उनले भनिन्, “हामी हिउँदे अधिवेशन यहीबाट सुरुआत गर्नुपर्छ भन्ने अठोटका साथ यहा म आएपछि निरन्तर फलो गरिरहेको छु । म्याद थप गर्ने रहर छैन, समस्याको समाधान हैन ।” मन्त्री गुरुङले निर्माण कम्पनीलाई आवश्यक जनशक्ति थपेर कामलाई तीव्र गति दिनसमेत निर्देशन दिइन्। उनले मन्त्रालयबाट भुक्तानी र नीतिगत कुरामा कमीकमजोरीलाई भए आवश्यकताअनुसार निर्णय गर्न तयार रहेको बताइन् । यस्तै, उपसभामुख इन्दिरा रानाले पनि निर्धारित समयमा अनिवार्यरुपमा निर्माण सम्पन्न गर्नुको विकल्प नभएको बताइन्।
गर्मी बढेसँगै विद्यालय बन्द लहान। केही दिनयता बढिरहेको प्रचण्ड गर्मीका कारण सिरहाको लहान नगरपालिकाले विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाले आज एक सूचना जारी गर्दै यहाँका सम्पूर्ण विद्यालय एक हप्तासम्मका लागि बिदा दिने निर्णय गरेको हो । अत्यधिक बढ्दो गर्मीको कारण बालबालिकाको स्वास्थ्यमा पर्नसक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै मिति यही जेठ १९ गते शुक्रबारदेखि जेठ २६ गते शुक्रबारसम्मका लागि नगरपालिकाअन्तर्गतका बालविकासदेखि कक्षा १२ सम्मका सबै सामुदायिक, निजी तथा धार्मिक विद्यालयका पठनपाठन बन्द गरिएको हो । गर्मीले पठनपाठनमा अवरोध भएकाले वर्षे बिदाबाट बिदा कट्टा हुने गरी विद्यालय बन्द गरिएको लहान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुभद्रा गौतमद्वारा जारी सूचनामा उल्लेख छ । गर्मी यथावत रहिरहे आइतबारदेखि लागू हुने गरी सिरहाका अन्य पालिकाले पनि पठनपाठन बन्द गर्ने शिक्षा विकास तथा समन्वय एकाइ सिरहाका प्रमुख शशीकुमार यादवले जानकारी दिए । सिरहामा जम्मा १७ वटा स्थानीय पालिका रहेका छन् । विगत केही दिनदेखि अत्यधिक गर्मीका कारण सिरहा, सप्तरी, धनुषासहित मध्य तराईको जनजीवन प्रभावित भएको छ । सिरहाको लहानको बिहीबारको अधिकतम तापक्रम ४२ डिग्री सेल्सियस रहेको छ ।
ओखलढुंगाका डाक्टर वसन्त कार्की मृत अवस्थामा फेला काठमाडौं । ओखलढुंगाका डा. वसन्त कार्की सुन्धाराको एक होटलमा मृत अवस्थामा फेला परेका छन् । बुधबार साँझ ६ बजे प्रहरीले डा. कार्कीलाई  सुन्धारास्थित एक होटलमा उनी बसिरहेकै कोठाभित्र मृत अवस्थामा फेला पारेको हो । महानगरीय प्रहरी वृत्त जनसेवाका प्रमुख डिएसपी भेषराज रिजालकाअनुसार बुधबार साँझ उनी  होटलको आफू बसिरहेको कोठामा मृत अवस्थामा फेला परेका थिए । प्रहरीकाअनुसार केही विषका बट्टाहरु पनि  सुतेको कोठाबाट बरामद भएका छन् । प्रहरीले उनलाई मुखबाट फिज निस्केको अवस्थामा फेला पारेको थियो । अहिले घटनाबारे  प्रहरीले थप अनुसन्धान जारी राखेको छ । डा. कार्कीले १५ जेठबाट कोठा लिएर बसेको जानकारी आफूहरुलाई प्राप्त भएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता सीताराम रिजालले बताए । प्रहरीकाअनुसार उनले आफू वर्कसपका लागि प्रिजेन्टेसनको तयारी गरिरहेकाले डिस्टर्व नगर्न होटलका कर्मचारीलाई आग्रह गरेका थिए । नेपाल चिकित्सक संघले डा. कार्कीको असामयिक निधनबाट स्तब्ध भएको जनाएको छन् । ‘ओखलढुंगाको सच्याम स्थायी घर भएका डा. कार्कीले भैरहवास्थित युनिभर्सल मेडिकल कलेजबाट एमबीबीएस गरेका थिए । छात्रवृत्तिमा एमबीबीएस अध्ययनरत  दुई वर्ष छात्रवृत्ति करारनामाअनुसार ओखलढुंगामै काम गरेका थिए ।
सहकारीको रकम हिनामिना गरेको आरोपमा छ जना पक्राउ काठमाडौँ । बूढानीलकण्ठ नगरपालिका–९ स्थित एकता बुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रु आठ करोड १८ लाख ८९ हजार सात सय ९५ हिनामिना गर्ने कार्यमा सम्लग्न रहेको अभियोगमा सोही संस्थाका कार्यकारीका अध्यक्षसहित छ जना पदाधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालय केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पक्राउ पर्नेमा बूढानीलकण्ठ नगरपालिका–९ बस्ने ७२ वर्षीय भानुकुमार शर्मा, ६७ वर्षीय प्रमोदकुमार न्यौपाने, ५० वर्षीय सोमलाल श्रेष्ठ, ५२ वर्षीय वीरबहादुर तामाङ, सोही नगरपालिका–८ बस्ने ३४ वर्षीय शम्भु कार्की र सोही नगरपालिका–९ बस्ने गोरखा पालुङटार नगरपालिका–७ घर भएका ५८ वर्षीय रामकुमार श्रेष्ठ रहेका छन् । उक्त संस्थाका बचतकर्ताबाट मुद्दती तथा बचत खातामा करोडौँ रुपैयाँ निक्षेप सङ्कलन गरी संस्थाका सञ्चालकले व्यक्तिगत लाभका लागि प्रयोग गरी सहकारी ऐन, २०७४ विपरीतका काम गरी संस्थालाई धराशायी बनाई बचतकर्ताले बचत गरेको रकम फिर्ता नदिएको बताइएको छ । उनीहरू बचत लिन जाँदा मुद्दती खातामा रहेको रकमको भुक्तानी मिति नाघेपछि पनि फिर्ता नगरी संस्थाले गरेको ठूलो धनराशिको अपचलन गरी ठगी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सहकारीको रकम हिनामिना गर्ने कार्यमा संलग्नलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि बागमती प्रदेश सरकार पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय, सहकारी महाशाखाबाट पत्राचार भएपछि केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले उक्त ठगी कार्यमा संलग्नलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकाउपर जिल्ला अदालत काठमाडौँबाट म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
चुरोट, सुर्तीको लत छुटाउन अब वीर अस्पताल जाऔँ काठमाडौं। के तपाईँ चुरोट, सुर्ती खैनीलगायत सुर्तीजन्य पदार्थको लत छुटाउन चाहानुहुन्छ? यही हो भने त वीर अस्पतालले चुरोट, खैनीको लत छुटाउनका लागि उपचार सेवा सञ्चालन गरेको छ । अस्पतालले विश्वभर नै विश्व सुर्तीजन्य पदार्थरहित दिवसको अवसर पारेर ‘निकोटिन रिप्लेसमेन्ट थेपारी’ उपचार पद्धति सुरु गरेको छ । अस्पतालका निर्देशक डा सन्तोष पौडेलले चुरोट, खैनी, सुर्तीको कुलतमा फसेका लागि छुटाउनका लागि ‘निकोटिन रिप्लेसमेन्ट थेपारी’ सुरु गरिएको जानकारी दिए । थेरापीमा चुरोट सुर्ती खैनीको लतमा फसेकालाई छुटाउनका लागि निकोटिन चुइगम दिइन्छ र सोही चुइगमको सहयोगले लत छुटाउने उनले बताए। थेपारीमा चुरोट, खैनी र सुर्तीको सट्टा मानिसलाई निकोटिन चुइगम दिइन्छ । “मानिसले कति चुरोट सुर्ती सेवन गर्दछ । सोहीअनुसार मात्रामा निकोटिन चुइगम दिइन्छ”, उनले भने, “चुइगममा निकोटिन हुन्छ । मानिसलाई लत लगाउने काम निकोटिनले गर्दछ । सोही लत हटाउनका लागि मानिसलाई चुइगम दिइन्छ ।” उनले चुरोट सुर्ती र खैनीमा निकोटिनबाहेकका तत्व हुन्छन् र ती तत्वले क्यान्सर रोग गराउने भन्दै तर निकोटिन मात्र भएको चुइगमले शारीरिक मानसिक असर गर्ने भए पनि क्यान्सर रोग नगराउने बताए । उनले मानिसमा इच्छाशक्ति भएपछि चिकित्सको परामर्शमा लत छुटाउने व्यक्तिलाई विस्तार निकोटिन चुइगमको माध्यमबाट लत छुटाउन सकिने बताए। “चुरोट, सुर्ती र खैनीको सट्टा चुइगम खान दिइन्छ । चुइगमले लत केही हदसम्म घटाउँछ । अनि विस्तारै ति मानिसलाई चुइगमको कारणले चुरोट, सुर्ती र खैनी खाऊ, खाऊ भन्ने बानी हराउँदै जान्छ”, उनले भने, “अनि विस्तार मानिसको लत हटाउन सकिन्छ ।” अस्पतालले थेरापीमा दन्त विभाग, क्यान्सर विभाग र मेडिसिन विभागका चिकित्सकको समन्वयमा लत छुटाइने गरिन्छ । दन्त विभागमा सुर्ती खाएको थाहा हुने गर्दछ । क्यान्सर विभागमा बिरामीले चुरोट खाने गरेको थाहा हुन्छ । र मेडिसिन विभागमा चुरोटले गर्दा बिरामीलाई दम भएको हुन्छ । ती विभागले समन्वयमा अस्पतालले सुर्तीजन्य पदार्थको लत छुटाउन थालेको हो । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले अस्पताललाई सुर्तीजन्य पदार्थको लत हटाउनका लागि ४५ हजार निकोटिन चुइगम उपलब्ध गराएको छ । निकोटिन चुइगम चिकित्सकले दिइसकेपछि निश्चित अवधिपछि पुनः अस्पतालमा बोलाएर बिरामीको अवस्था हेरेर चुइमग खान फेरि दिइने उनले बताए । यसैगरी अस्पतालमा सुर्तीजन्य पदार्थ कति खाइरहेको छ त्यसको आधारमा पनि लत छुटाउनका लागि परामर्श सेवा पनि उपलब्ध गराइएको अस्पतालका निर्देशक डा पौडेलले जानकारी दिए । अस्पतालले क्यान्सर विभागमा परार्मशका लागि छुट्टै कोठाको व्यवस्था गरेको छ । नेपालमा हरेक वर्ष २७ हजारभन्दा बढी मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनका कारण हुने गरेको छ । सुर्तीजन्य पदार्थ सेवन गर्दा श्वासप्रश्वाससम्बन्धी समस्या, मुटु रोग, क्यान्सर रोग, दीर्घ रोगलगायतका समस्या देखिने गर्दछ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् गरेको सर्वेक्षणमा नेपालमा २८ दशमलव ९ प्रतिशत मानिसले सुर्तीजन्य पदार्थ प्रयोग गर्ने पाइएको छ । तीमध्ये ४८ दशमलव ३ प्रतिशत पुरुष र ११ दशमलव ६ प्रतिशत महिलाले सुर्तीजन्य पदार्थ प्रयोग गर्ने गर्दछन् । डब्लुएचओको सन् २०२२ को तथ्याङ्कअनुसार विश्वमा २२ दशमलव ३ प्रतिशत मानिस सुर्तीजन्य पदार्थ प्रयोग गर्दछन् । सुर्तीजन्य पदार्थको प्रयोग महिलाभन्दा पुरुषमा बढी हुने गरेको छ । महिलाको ७ दशमलव ८ प्रतिशत र पुरुषमा ३६ दशमलव ७ प्रतिशत रहेको छ ।
भरतपुर महानगरपालिकाद्वारा अवैध संरचना हटाउन सुरु चितवन। भरतपुर महानगरपालिकाले महानगर क्षेत्रभित्र अवैध र मापदण्ड विपरीत बनेका भौतिक संरचना हटाउन सुरुआत गरेको छ । भरतपुर–१ नारायणी नदी किनारबाट यस्ता संरचना हटाउन सुरु गरिएको हो । अवैध संरचना हटाउने क्रममा आज नारायणी नदी किनारका आठ संरचना हटाउन लागिएको छ । यस्तै सोही क्षेत्रमा ३५ सङ्घसंस्थाले अवैध संरचना निर्माण गरेको महानगरपालिकाले जनाएको छ । ती संरचनासमेत भत्काउनका लागि सूचना जारी गरिएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरको २९ वटै वडामा अवैध संरचना हटाउने कार्य सुरु भएको बताइन् । मङ्सिरदेखि नै कानुनी प्रक्रिया सुरु गरिएको बताउँदै उनले अब सबै वडामा अवैध संरचना हटाउने काम सुरु गरिने बताइन्। महानगरभित्र २९ वडामा रहेका अवैध संरचना, सरकारी जग्गामा मापदण्ड विपरीतका अवैध संरचना एकिन गर्ने काम सकिएको उनले जानकारी दिइन् । विभिन्न प्रक्रिया पूरा गरेर, नाप जाँच, घरधनीलाई पत्र दिने, सीमाङ्कन गर्ने कार्य सकिएकाले अब भने संरक्षण गर्ने कार्यतर्फ महानगर लागेको हो । महानगरपालिकाभित्र अवैध संरचना व्यवस्थापन गर्न समिति गठन गरी क्रमिक रुपमा काम थालनी गरिएको छ । नारायणी नदी किनारमा रहेका अवैध संरचना हटाउन पटक–पटक सूचना जारी गरिएको थियो । महानगरपालिकाले वडा अध्यक्षको संयोजकत्वमा अवैध संरचनाको व्यवस्थापन समिति गठन गरेको छ । सोही समितिले सबै वडामा काम गर्ने उनले बताइन्। सरकारी जग्गामा व्यवसाय, सङ्घसंस्था रहेको तथ्याङ्क सङ्कलनको काम सकिएको महानगरले जनाएको छ । यस क्रममा पुगी खोला र केरुङ्गा खोला किनारमा बनेका मापदण्ड विपरीतका संरचनालाई हटाइने योजनामा महानगरको छ । सार्वजनिक जग्गा संरक्षण गर्ने दायित्व स्थानीय सरकारको भएकाले यो अभियान निरन्तर रहने उपप्रमुख चित्रसेन अधिकारीले बताए। उनले नारायणी नदीलाई गोलाघाटसम्म संरक्षण गरिने बताउँदै नारायणी नदी किनारलाई अन्तर्राष्ट्रिय पर्यटकीयस्थल बनाउने कार्य सम्पूर्ण महानगरवासीको साथ सहयोग अपेक्षा गरे।
पाँच महिनामा चार लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिए काठमाडौं। सन् २०२३ को पाँच महिनामा चार लाख चार हजार दुई सय ५७ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्यांक अनुसार जनवरीदेखि मे महिनासम्म सो सङ्ख्यामा पर्यटक भित्रिएका हुन् । मे महिनामा मात्रै ७७ हजार सात सय ३० पर्यटक नेपाल आएका छन् । यस वर्षको जनवरीमा ५५ हजार ७४, फेब्रुअरीमा ७३ हजार दुई सय ५५, मार्चमा ९९ हजार चार सय २६ र अप्रिलमा ९८ हजार सात सय ७३ पर्यटक भित्रिएका थिए । तथ्यांक अनुसार मे महिनामा पनि सबैभन्दा बढी भारतबाट ३६ हजार पाँच सय ७५ पर्यटक भित्रिएका छन् । भारतपछि अमेरिकाबाट आठ हजार पाँच सय ४५, चीनबाट चार हजार छ सय ६७, बेलायतबाट दुई हजार नौ सय २७, अष्ट्रेलियाबाट दुई हजार एक सय ८४ जना पर्यटक आएका छन् । बंगलादेशबाट दुई हजार एक सय ६४, मलेसियाबाट एक हजार तीन सय २१, जर्मनीबाट एक हजार एक सय ६५, फ्रान्सबाट एक हजार ९७ र दक्षिण कोरियाबाट एक हजार ३९ जना पर्यटक भित्रिएका छन् । कोभिडले सुस्ताएको पर्यटन क्षेत्रले पछिल्लो समयमा गति लिँदै गएको छ । स्थलमार्गबाट आउने भारतीय पर्यटक बाहेक सन् २०१९ मा करिब १२ लाख पर्यटकको आगमन भएकोमा कोभिड महामारीका कारण सन् २०२० र २०२१ मा पर्यटक आगमन सङ्ख्या क्रमः दुई लाख ३० हजार र एक लाख ५१ हजारमा सीमित रहन पुगेको थियो । यद्यपि, सन् २०२२ मा भने पर्यटक आगमनमा उल्लेख्य वृद्धि भई छ लाख १४ हजार आठ सय ६९ पुगेको छ । सन् २०२३ मा पर्यटक आगमन निरन्तर बढिरहेको छ ।
चोरी गरेको अभियोगमा भारतीय नागरिक पक्राउ काठमाडौँ। काठमाडौं महानगरपालिका-२६ लैनचौरमा चोरी गरेको अभियोगमा एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत पटना घर भएका २८ वर्षीय सरिव खान रहेका छन्। लैनचौरस्थित वाल्डो क्यासिनोमा चिनियाँ नागरिकको नगद ३ लाख नेपाली रुपैयाँ चोरी गरेको अभियोगमा खानलाई प्रहरीले पक्राउ गरेको हो। चोरी भएको भन्ने खबर प्राप्‍त हुनासाथ प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले सिसिटिभि लगायतका प्रविधिको सहयोगमा अनुसन्धान गर्ने क्रममा उक्त नगद चोरीमा खानको संलग्नता खुल्न आएपछि दरबारमार्गस्थित प्यालेस क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा खानलाई फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
नेपालमा आफ्नै गोताखोर कुरिनटार। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल जस्तो जल उत्पन्न जोखिम भएको देशमा आफ्नै गोताखोर जनशक्ति उत्पादन गरेर शसस्त्र प्रहरी बलले गौरवपूर्ण काम गरेको बताएका छन्। बिहीबार ‘सशस्त्र प्रहरी बल नेपाल विपत् व्यवस्थापन शिक्षालय’ कुरिनटारमा आयोजित गोताखोर तालिमको समापन समारोहमा उनले उक्त धारणा व्यक्त गरेका हुन्। ‘यो तालिम ठूलो योगदानको रुपमा अंकित हुनेछ।’ प्रशिक्षार्थीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्दै उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘जनताको सेवा गर्न सीपसहित आफूलाइ तयार गर्नु सामान्य र सजिलो योगदान होइन।’ गण्डकी प्रदेश सरकार समेतको सहयोगमा २० जनाका लागि पाँच हप्तासम्म भएको सैद्धान्तिक एवम् प्रयोगात्मक तालिममा सशस्त्रका जवान गणेशबहादुर थापा उत्कृष्टतामा प्रथम भएका थिए। आफ्नै आवश्यकता आधारमा, सीपयुक्त गोताखोर उत्पादन गर्ने योजना अन्तर्गत नेपालमा भएको यो तेस्रो तालिम हो। नेपालमै तालिम हुनुअघि बंगलादेशमा तालिम भएको थियो। तर सामुन्द्रिक जल उत्पन्न प्रकोप बढी हुने बंगलादेशमा त्यही आधारको तालिम हुने गर्दथ्यो। नेपालमा भने बेगले बग्ने, चिसो बग्ने, बाढी आउने जस्ता जल उत्पन्न जोखिमलाई यहीँको आवश्यकता आधारको तालिम जरुरी थियो। यो तालिमको अभ्यास त्रिशुली लगायतका नदी र फेवातालमा भएको थियो। समारोहमा सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले जानकारी दिएअनुसार अघिल्ला तालिमहरूमा विदेशी प्रशिक्षक समेत हुनेगर्थे भने यसपटकका प्रशिक्षार्थी नेपाली नै हुन्। यो तालिमसहित अब ७४ जना तालिम प्राप्त गोताखोर सशस्त्र प्रहरीमा छन्। जल उत्पन्न प्रकोपका हालसम्मका २२७ घटनामा ३२ जनाको जीवितै उद्दार गरिएको छ भने २४४ जनाको मृत्यु भएको छ। समारोहमा नदीमा मानिस डुबेमा आकस्मिक निकाल्ने वा खोज्ने अभ्यासबारे प्रशिक्षार्थीबाट ‘डेमोन्स्ट्रेसन’ प्रस्तुत गरिएको थियो। डुबेका या बगाएका मानिसलाई नदीको वा पानीको भित्री सतहसम्म पुगेर कसरी बचाउने, कसरी प्रारम्भिक उपचार गर्ने जस्ता सन्दर्भ प्रस्तुतिमा थिए। उपप्रधानमन्त्री श्रेष्ठसहित सहभागी अतिथिहरूले उद्दारमा प्रयोग हुने ‘रेफ्टबोटिङ’ समेत गरेका थिए। समारोहमा गण्डकी प्रदेशका पूर्व आन्तरिक मामला तथा कानुनमन्त्री डोबाटे बिक, नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवर, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा, विपत् जोखिम व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल, गण्डकी प्रदेश सरकारका सचिव बद्री अधिकारी, इच्छाकामना गाउँपालिका चितवनका अध्यक्ष दानबहादुर गुरुङ समेत सहभागी थिए। उपप्रधानमन्त्री श्रेष्ठले शिक्षालयमा रहेको आपतकालीन उद्दार सम्बन्धि सामाग्रीहरूको समेत निरीक्षण गरेका थिए।
सहकारीको रकम हिनामिना गर्ने कार्यमा संलग्न ६ जना पक्राउ काठमाडौँ। बुढानिलकण्ठ नगरपालिका-९ स्थित श्री एकता बुद्ध वचत तथा ऋण सहकारी संस्था लिमिटेडको ८ करोड १८ लाख ८९ हजार ७ सय ९५ रूपैयाँ हिनामिना गर्ने कार्यमा संलग्न रहेको अभियोगमा सोही संस्थाका कार्यकारी अध्यक्षसहित ६ जना पदाधिकारीहरूलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा बुढानिलकण्ठ नगरपालिका-९ बस्ने ७२ वर्षीय भानु कुमार शर्मा, ६७ वर्षीय प्रमोद कुमार न्यौपाने, ५० वर्षीय सोमलाल श्रेष्ठ, ५२ वर्षीय वीर बहादुर तामाङ, सोही नगरपालिका-८ बस्ने ३४ वर्षीय शम्भु कार्की र सोही नगरपालिका-९ बस्ने गोरखा पालुङटार नगरपालिका-७ घर भएका ५८ वर्षीय राम कुमार श्रेष्ठ रहेका छन्। उक्त संस्थाका बचत कर्ताहरुबाट मुद्दती तथा बचत खातामा करोडौं रुपैयाँ निक्षेप संकलन गरी संस्थाका संचालकहरुले व्यक्तिगत लाभका लागि प्रयोग गरी सहकारी ऐन, २०७४ विपरीतका काम गरी संस्थालाई धरासायी बनाई बचतकर्ताहरुले बचत गरेको रकम फिर्ता लिन जाँदा मुद्दती खातामा रहेको रकमको भुक्तानी मिति नाघेपछि पनि फिर्ता नगरी संस्थाले गरेको ठूलो धनरासीको अपचलनलाई ढाकछोप गर्ने गरी संस्थाका पदाधिकारीहरुले बचतकर्ताहरुलाई प्रलोभनमा पारी ठगी गरेको हुँदा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि बागमती प्रदेश सरकार पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय, सहकारी महाशाखाबाट पत्रचार भएपछि केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उक्त रकम ठगी गर्ने कार्यमा संलग्न उनीहरुलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो। उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
डिशहोम बन्यो आईएसओ गुणस्तर चिन्ह प्राप्त गर्ने इन्टरनेट कम्पनी काठमाडौँ। नेपालमा आईएसओ सेवा प्रदान गरि रहेको डिश मिडिया नेटवर्क लिमिटेडले डाटा सेन्टर र इन्टरनेट सेवामा आईएसओ प्रमाणीकरण प्राप्त गरेको छ । Americo quality standards registech ले हालै कम्पनीको योजना, चुस्त नेतृत्व, कार्यसम्पादन मुल्यांकन, ग्राहक सेवाको गुणस्तरको आधारमा निरिक्षण गरी डिश मिडिया नेटवर्क लाई ISO 9001:2015 प्रदान गरेको हो । स्याटेलाइट टेलिभिजन मार्फत नेपालको कुना काप्चामा गुणस्तरिय सेवा प्रदान गरि रहेको कम्पनीले पछिल्लो समय अन्य सेवा प्रदायकको भन्दा सुलभ र उच्च गुणस्तरको इन्टरनेट सेवा संचालन गरिरहेको छ यस्तै हाल सालै आफ्नो सेवालाई विस्तार गर्ने क्रममा डाटा सेन्टर पनि संचालनमा ल्याएको छ । नेपालको पेटिभी इन्डस्ट्रीमा आमुल परिवर्तन ल्याउन सफल रहेको डिशहोमले आफ्नो ग्राहकहरु उच्च गतिको इन्टरनेट सहज र सर्वसुलभ मुल्यमा प्रदान गर्नुका साथै ग्राहक सेवा लाई अझ सहज वनाउन देशै भरि विभिन्न स्थानमा डिलर नेटवर्क, सर्भिस सेन्टर र २४ सै घण्टा ग्राहक सेवा केन्द्र संचालन गरिरहेको छ । उत्कृष्ट ग्राहक सेवा, कुशल नेतृत्व, व्यवस्थित कार्यसम्पादनको कारणले गर्दानै कम्पनीले आईएसओ प्रमाणीकरण प्राप्त गर्न सफल भएको छ । अवको दिनमा कम्पनीले अझै समय अनुसारको प्रविधि प्रयोग गरि कम्पनीले प्रदान गरिरहेको विभिन्न सेवा लाई थप गुणस्तरीय र ग्राहक सेवालाई अझ प्रभावकारी बनाउँदै लैजाने कम्पनीले जनाएको छ ।
दुई छोरासहित आमाले विष खाइन्, एक छोराको मृत्यु हेटौँडा। मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ जाँतेमा एक महिलाले दुई छोरासहित आफूले विष सेवन गरेकी छन् । प्रहरीका अनुसार बुधबार साँझ ३६ वर्षीया सोनी पाख्रिनले ७ वर्षीय छोरा अस्किन र १८ महिने छोरा जेनिस वाइबालाई विष खुवाएर आफूले पनि विष सेवन गरेकी हुन् । झार मार्ने विषादी प्यारा क्वाइट डाइक्लोराइड खाएका उनीहरुलाई हेटौडा अस्पताल हुँदै राति नै चितवन मेडिकल कलेज (सीएमसी)मा लगिएको थियो । तर, उपचारका क्रममा बिहीबार बिहान छोरा जेनिसको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । साथै आमा सोनी र अर्काे छोरा अस्किनको अवस्था पनि गम्भीर छ । उनीहरूको आईसीयू कक्षमा उपचार भइरहेको छ । उनीहरुले विष सेवन गर्नुको कारण खुलिनसकेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
थाहा पाउनुहाेस् आजको मौसम काठमाडाैं। हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश लगायत बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ। साथै देशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का बर्षा भइरहेको छ। दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भू-भागका ‍एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। साथै मधेश प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ। राती भने कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एकदुई स्थानमा मेघगर्जन चट्याङ सहित हल्का वर्षा हुने सम्भावना रहेको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भू-भागका ‍एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहनुका साथै मधेश प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेकोले त्यसबाट हुन सक्ने क्षति वा जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुराेध गरेकाे छ।
नक्कली भूटानी शरणार्थी प्रकरण : आज चार जनाको बयान लिइयो काठमाडौं । नक्कली भूटानी शरणार्थी प्रकरणका आरोपितमध्ये आज चार जना प्रतिवादीको बयान लिइएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा प्रतिवादी गोविन्द चौधरी, नेपाल सरकारका निलम्बित सचिव टेकनारायण पाण्डे, सानु भण्डारी र रामशरण केसीको बयान लिइएको बताइएको छ । नक्कली भूटानी शरणार्थी प्रकरणमा प्रतिवादीको बयान जेठ १२ गतेदेखि काठमाडौँ जिल्ला अदालतमा लिन थालिएको छ । अहिलेसम्म १२ प्रतिवादीको बयान लिइसकिएको जनाइएको छ । नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १७ जना पक्राउ परेका छन् । उक्त प्रकरणका आरोपितमध्ये १३ जना अझै फरार रहेको प्रहरीले जनाएको छ ।
आफ्नो तस्बिर सगरमाथाको चुचुरोमा पुर्‍याउने आरोही याङ्जी शेर्पालाई राष्ट्रपति पौडेलको बधाई काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको तस्बिर पहिलो पटक सगरमाथाको चुचुरोमा पु¥याउने महिला आरोही याङ्जी शेर्पालाई राष्ट्रपति पौडेलले बधाई दिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आज भएको कार्यक्रममा उनले महिला आरोहीको साहस र आँटको प्रशंसा गरे । उनले हिमाल आरोहणमा राष्ट्रको सम्मानका लागि नेपाली महिलाआरोहीहरूले खेलेको भूमिका महत्त्वपूर्ण रहेको बताए । हिमाल आरोही याङ्जी शेर्पाले आफूले ‘सरप्राइज’ दिनकै लागि राष्ट्रपति पौडेलको फोटो थाहै नदिई चुचुरोमा पु¥याउन पाउँदा खुसी लागेको भन्दै राष्ट्रपति पौडेलको तस्बिर सो अवसरमा हस्तान्तरण गरिन् । सङ्खुवासभा मकालु गाउँपालिकाकी याङ्जीले पौडेल राष्ट्रपति हुनु अगावै नयाँ राष्ट्रपतिको तस्बिर सगरमाथाको चुचुरोमा पु¥याउने सङ्कल्प लिएकी थिइन् । अन्य साना कुनै पनि चुचुरो नचढी उनले एकै पटक सगरमाथाको सफल आरोहण गरेकी हुन् । पायोनियर एड्भेन्चर ट्रेकका डाइरेक्टर तथा कीर्तिमानी आरोही मिङ्मा दोर्ची शेर्पाले आफ्नो कम्पनीबाट हिमाल आरोहण गर्ने महिलाको सङ्ख्या उल्लेख्य रहेको र प्रतिकूल मौसमका कारण पनि हिमाल अरोहण गराएको बताए । कार्यक्रममा सङ्खुवासभाका सांसद दीपक खड्काले हिमाल आरोहणमा नेपाली महिलाको भूमिका महत्त्वपूर्ण रहेको बताए । उनले हिमाल आरोहणको क्षेत्र असुरक्षित भए पनि साहस र हिम्मतको सबैले कदर गर्नुपर्ने बताए ।
हतियारसहित चितवन राष्ट्रिय निकुञ्जबाट दुई जना नियन्त्रणमा चितवन । चितवन राष्ट्रिय निकुञ्जले वन्जजन्तुको चोरीशिकार गर्न लागेको भन्ने सूचनाको आधारमा दुई युवालाई नियन्त्रणमा लिएको छ । निकुञ्जले कालिका नगरपालिका–११ सैपाङ बस्ने २९ वर्षीय राज चेपाङ र सोही ठाउँका ३५ वर्षीय सुन्दर चेपाङलाई नियन्त्रणमा लिएको हो । वन्यजन्तु चोरीशिकार गर्न लागेको भन्ने सूचनाको आधारमा निकुञ्ज सुरक्षार्थ तैनाथ खड्क दल गणबाट खटिएको संयुक्त अप्रेशन टोलीले राजलाई सौराहाबाट जेठ १३ गते र सुन्दरलाई आफ्नै घरमा बसिरहेको अवस्थामा जेठ १४ गते नियन्त्रणमा लिएको हो । उनीहरूबाट दुई थान भरुवा बन्दुक पनि निकुञ्जले बरामद गरेको छ । पक्राउ परेको बन्दुक जिल्ला प्रहरी कार्यालयलाई बुझाएर उनीहरूमाथि वन्यजन्तुको कसुरसम्बन्धी अनुसन्धान भइरहेको निकुञ्जले विज्ञप्तिमा उल्लेख गरेको छ ।
डडेल्धुरामा गोठालो गएकी १० वर्षीया बालिका मृत फेला डडेल्धुरा । डडेल्धुरामा बाख्रा चराउन गएकी एक बालिका मृत फेला परेकी छन् । मंगलबार जिल्लाको नवदुर्गा गाउँपालिका–५ लम्पाटीका लक्ष्मण बिककी १० वर्षीया छोरी शानु बिक मृत फेला परेको प्रहरीले जनाएको छ । बाख्रा चराउन जंगल गएकी उनी राती अबेरसम्म घर नआएपछि प्रहरीलाई खबर गरिएकोमा अस्थायी प्रहरी पोष्ट ठाँटाबजारबाट खटिएको टोलीले सानुलाई आज बिहान घरभन्दा एक किलोमिटर दूरीको जंगलमा मृत अवस्थामा फेला पारेको हो । यस विषयमा थप अनुसन्धान लागि जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट प्रहरी टोली घटनास्थलमा खटिएको छ ।
सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ काठमाडौँ। वैदेशिक रोजगारीका लागि सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सर्लाही हरिवन नगरपालिका-५ घर भई हाल काठमाडौं महानगरपालिका-३२ तिनकुने बस्ने २७ वर्षीय निरोज बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको छ। बुढाथोकीले ४ जना पीडितलाई वैदेशिक रोजगारका लागि सर्बिया पठाई कृषिमा काम लगाइदिन्छु मासिक १ लाख रूपैयाँ भन्दा धेरै तलब हुन्छ भन्दै प्रलोभनमा पारी पीडितहरुबाट पटक पटक गरी १२ लाख रूपैयाँ रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-९ सिनामंगलबाट पक्राउ गरेको हो। उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ।
फ्रान्स पठाइदिन्छु भन्दै रकम ठगी गर्ने ५० वर्षीय पाख्रिन पक्राउ काठमाडौँ। वैदेशिक रोजगारीका लागि फ्रान्स पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक व्यक्तिलाई पक्राउ गरेको छ।  पक्राउ पर्नेमा दोलखा बैतेश्वर नगरपालिका-३ मिर्गे घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका-१३ सल्लाघारी बस्ने ५० वर्षीय सुरेश कुमार पाख्रिन रहेका छन्। पाख्रिनले ४ जना पीडितलाई वैदेशिक रोजगारका लागि फ्रान्स पठाई प्रतिष्ठित कम्पनीहरुमा काम लगाइदिन्छु, मासिक १ लाख रूपैयाँ भन्दा धेरै तलब हुन्छ भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी ४० लाख रूपैयाँ रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई ललितपुर महानगरपालिका-३ पुल्चोकबाट पक्राउ गरेको हो। उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ।
विद्यालयको छात्रावासमा बालक मृत फेला काठमाडौँ। काठमाडौं नयाँ बजारस्थित एक विद्यालयको छात्रावासमा १३ वर्षीय बालक झुण्डिएको अवस्थामा फेला परेका छन्। इलिफ्स स्कुलमा कक्षा ५ मा अध्ययनरत अभिषेक तामाङ सोही विद्यालयको छात्रावासमा झुन्डिएको अवस्थामा फेला परेका प्रहरीले जनाएको छ। आफूहरु घटनास्थल आउनुअघि नै पोष्टमार्टमका लागि शव अस्पताल लगेपछि बालकका आफन्तले विरोध प्रदर्शन गरेका छन्।
ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु चितवन। पूर्व–पश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–४ मार्तल पुल नजिक गए राति ट्रकले ठक्कर दिदाँ साइकलयात्रीको मृत्यु भएको छ। ट्रकको ठक्करबाट राप्ती–४ का ६५ वर्षीय हरि पाण्डेको ज्यान गएको हो। लोथरबाट नारायणगढतर्फ आउँदै गरेको बाप्र०३–००१ख १८६३ नंको ट्रकले साइकलयात्री पाण्डेलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा गए राति नै मृत्यु भएको हो। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बाघ संरक्षणका लागि सडक नाटक भरतपुर। उन्नाइस वर्षीया अप्सरा स्याङ्ताङलाई पाटेबाघको बारेमा राम्रोसँग जानकारी छ। उनी बाघको बानी व्यहोरा, आहारविहार र बासस्थानका बारेमा पनि जानकार छिन्। उनी आफूमात्र नभई अरुलाई पनि बाघबारे राम्रोसँग बुझाउन सक्ने क्षमता राख्छिन्। बाघ संरक्षणका लागि तालिम लिएर सडक नाटक प्रस्तुत गर्न थालेपछि उनले बाघका बारेमा झन् ज्ञान बढेको बताउँछिन्। स्नातक तह अध्ययन गरिरहेकी स्याङ्ताङलाई चितवन राष्ट्रिय निकुञ्जअन्तर्गतको निर्मल ठोरी उपभोक्ता समितिले नाटक प्रस्तुत गर्नका लागि एक हप्ताको तालिम प्रदान गरेको हो। बाघ संरक्षणका लागि सडक नाटक लिएर उनी अहिले आफ्नो गाउँको चोक-चौतारामा पुग्ने गरेकी छन्। यो अभियानमा स्याङ्ताङ एक्लो छैनन्। उनीसँगै गाउँका १४ किशोरकिशोरी पनि सडक नाटक देखाउन सहभागी हुने गरेका छन्। उनीहरूले पनि स्याङ्ताङले जस्तै तालिम लिएका छन्। चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको पर्साको एक मात्र उपभोक्ता समिति हो निर्मल ठोरी। “गाउँमा बाघले निकै दुःख दिन्छ। बाघकै कारण बर्सेनि धनजनको क्षति हुने गरेको छ। तर हामी बाघकै संरक्षणमा जुटेका छौँ”, स्याङ्ताङले भनिन्, “हामी विवेकशील प्राणी हौँ, यसकारण पनि बाघको संरक्षण गर्नुपर्छ।” उनले गाउँका चोक-चौतारामा सडक नाटक देखाएर जनचेतना फैलाउँदा धेरैले बाघ संरक्षणको बारेमा जान्ने मौका पाएको बताइन्। ठोरीमा १२ वर्षदेखि १९ वर्षका किशोर-किशोरी सडक नाटक देखाउने अभियानमा छन्। ठोरी गाउँपालिका-१ चौताराका सनिस तामाङ वातावरणलाई सन्तुलन राख्नका लागि पनि बाघको संरक्षण गर्नुपर्ने बताउँछन्। उनी पनि सडक नाटकमार्फत बाघका बारे धेरै कुरा जान्न र अरुलाई बुझाउन सक्ने भएको बताउँछन्। सडक नाटक प्रस्तुत गर्दा आफ्नो बौद्धिक क्षमता बढ्ने र सामाजिकरूपमा घुलमिलको वातावरण सिर्जना हुने अनुभव उनले सुनाए। सिर्जना मध्यवर्ती बचत तथा क्रृण सहकारी संस्थाका अध्यक्ष घनश्याम अधिकारी पनि किशोर–किशोरीसँगै बाघ संरक्षणको अभियानमा जुटेका छन्। उनी भन्छन्, “किशोर-किशोरीलाई अहिलेदेखि नै संरक्षणको भावना जगाउन सडक नाटक निकै प्रभावकारी छ, यसले भावी पुस्तामा संरक्षणको भावना झन् विकास हुने देखिन्छ।” चितवन राष्ट्रिय निकुञ्जअन्तर्गतको निर्मल ठोरी उपभोक्ता समितिका अध्यक्ष बालकुमार बस्नेतले ठोरी क्षेत्र वन्यजन्तु र त्यसमा पनि बाघ प्रभावित क्षेत्र भएको बताए। “यहाँ वन्यजन्तुपीडित धेरै हुनुहुन्छ, उनले भने, “बाघले गाउँघरमा पसेर गाईवस्तु, बाख्रा, बङ्गुर खाने गरेको छ”, उनले मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि गाउँघरमा सचेतना जगाउन सडक नाटक प्रस्तुत गरिरहेको बताए। चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चितवन राष्ट्रिय निकुञ्जका २२ समितिमार्फत बाघ संरक्षणका काम भइरहेको छ। उनले वन्यजन्तु जोगाउन शिक्षा दिने योजनाका साथ युवापुस्तालाई सडक नाटकमार्फत अघि सारिएको बताए। “गाउँगाउँमा पुगेर सचेतना फैलाउने काम कोरोनाका कारण रोकिएको थियो”, उनले भने, “अहिले पुनः सोही खालका अभियान सुरु गरेका छौं।” उनले समुदायमा पुग्न सकेमात्र संरक्षण दिगो हुने भन्दै सडक नाटक प्रभावकारी बनेको बताए। चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गानाले चेतनामूलक कार्यक्रमले संरक्षणमा स्थानीयको अपनत्व विकास भएको बताए। उनले बालबालिका र युवा केन्द्रित कार्यक्रमले बाघलगायतका वन्यजन्तु संरक्षणमा प्रभावकारी भूमिका खेलेको जानकारी दिए। बाघ संरक्षणका लागि मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिमार्फत तराई भूपरिधि कार्यक्रम (ताल)ले सहकार्य गरेको छ। कार्यक्रमका चितवन पर्सा फिल्ड संयोजक प्रेम पौडेलले वन्यजन्तुको आनीबानी बुझेर मान्छेको व्यवहार परिवर्तन गर्न सडक नाटक देखाउने गरिएको बताए। “मानव र वन्यजन्तुबीचको दूरी टाढा राख्नुपर्छ”, उनले भने, “नजिक भएकै कारण घटना धेरै हुने गरेको छ।” उनले तालमार्फत चेतनामूलक कार्यक्रम र आयआर्जनका कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए। चितवन, पर्सा निकुञ्ज र भारतको बाल्मिकी टाइगर रिजर्भमा बाघ ओहोरदोहोर गर्ने करिडोर क्षेत्र ठोरी भएकाले पनि यहाँ विशेष संरक्षणका कार्यक्रम सञ्चालन गरिरहेको उनले बताए। यो तीन निकुञ्ज जोडिएको क्षेत्र पनि हो। पौडलेले बोलेर, पढेरभन्दा पनि सडक नाटकमार्फत जनस्तरमा देखाउँदा संरक्षणमा प्रभावकारी भूमिका देखिने बताए। “सडक नाटक सबैले चासो देखाएर हेर्ने र सुन्ने गरेका छन्, यो प्रभावकारी भएकै कारण अन्य ठाउँमा पनि यस्तै कार्यक्रम गर्ने योजना बनाएका छौँ”, उनले भने।रासस