content
stringlengths
20
64.1k
सत्तरी हजार घुससहित वडाअध्यक्ष र वडा सचिव पक्राउ काठमाडौं । धनुषा जिल्लाको नगराइन नगरपालिका वडा नं २ का वडाअध्यक्ष बुलन यादव रु ७० हजार घुससहित पक्राउ परेका छन् । आज वडाअध्यक्षसहित सोही वडाका सचिव अमृतनारायण मिश्र पनि घुससहित पक्राउ परेका हुन् । वडाअध्यक्ष यादव र वडा सचिव मिश्रले सडक निर्माण कार्य सम्पन्न सिफारिस गरिदिएवापत सेवाग्राहीसँग घुस÷रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासले पक्राउ गरेको हो । दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालका अनुसार सेवाग्राहीबाट रु ७० हजार घुस लिइसकेको अवस्थामा घुस रकमसहित नगराइन चोक धनुषाबाट नियन्त्रणमा लिइएको हो । उहाँका अनुसार उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।
गोदावरीबाट लागूऔषधसहित दुई जना पक्राउ धनगढी । कैलालीको गोदावरी नगरपालिकाबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । गोदावरी नगरपालिका–२ नमस्ते होटलको गल्ली स्थित पुनम सिजालीमगरको घरमा कोठा डेरा गरी बस्ने २० वर्षीय बिरेन्द्र वड र २४ वर्षीय विनोद दियाल आफ्नै घरबाट लागुऔषधसहित पक्राउ परेका हुन् । वड १९० मिलीग्राम र दियाल ८५० मिलीग्राम लागुऔषधसहित आज पक्राउ परेको प्रहरीले जनाएको छ ।
सबै अस्पतालमा दश प्रतिशत विपन्न र असहायका लागि निःशुल्क उपचार कार्यान्वयन हुन्छः मन्त्री बस्नेत काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले विपन्न र असहाय बिरामीका लागि निःशुल्क उपचारको नीतिलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्ने बताएका छन्। बुधबार सिंहदरबारमा बसेको संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा सबै अस्पतालमा दश प्रतिशत विपन्न र असहाय बिरामीका लागि निःशुल्क उपचारको नीतिलाई स्थानीय तहको सिफारिसका आधारमा प्रभावकारी रुपमा कार्यान्वयन गर्ने बताएका हुन्। उनले पैसा नभएर उपचार नपाई अकालमा मृत्युवरण गर्नुपर्ने अवस्थामा कोही नागरिकलाई पनि पुग्न नदिन सरकार प्रतिबद्ध रहेको बताए। त्यस्तै उनले सरकारी अस्पतालमा टिकटका लागि लामो लाइन बस्नुपर्ने अवस्थालाई कम गर्न अनलाईन टिकटको व्यवस्था गर्ने र टिकट वितरणको काउण्टरको संख्या बढाउने सिस्टमको सुरुवात नै भइसकेको बताए। त्यस्तै मन्त्री बस्नेतले विभिन्न अस्पतालमा उपयोगविहीन उपकरणलाई आवश्यकताका आधारमा अन्य अस्पतालमा वितरण गराइएको धारणा राखे। उनले बिभिन्न रोगको निदानका लागि उच्च सतर्कता अपनाइएको र बिभागहरुलाई आवश्यक निर्देशन दिइसकेको जानकारी दिए। बैठकमा समिति सदस्यहरुले नागरिकले सहज स्वास्थ्य सेवा पाउनुपर्ने, स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयन हुनुपर्ने लगाएतका बिषयमा सरकार गम्भीर हुनुपर्ने बताएका थिए ।
नयाँ बसपार्कबाट मात्रै यातायात सञ्चालन गर्ने निर्देशनको व्यवसायीहरुको विरोध काठमाडौं। यातायात क्षेत्रका विभिन्न संगठन र व्यवसायीहरुले असार १ गतेदेखि काठमाडौं भित्रिने र बाहिरिने सबै सवारीसाधनहरु गोंगबुस्थित् नयाँ बसपार्कबाट मात्रै सञ्चालन गर्ने निर्देशनको विरोध गरेका छन्। यातायात व्यवसायी र विभिन्न संगठनहरुले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महानगरको उक्त निर्णयको विरोध गरेका छन्। यातायात व्यवसायीहरुले महानगरको उक्त निर्णय अव्यवहारिक भएको भन्दै सच्याउनसमेत माग गरेका छन्। यातायात व्यवसायी र विभिन्न संगठनहरुले महानगरको उक्त निर्णयले यात्रुलाई असुविधा हुने, काठमाडौंमा ट्राफिक समस्या बढ्ने, यातायात व्यवसायीलाई सास्ती हुने र श्रमिकहरुको रोजीरोटी खोसिने भन्दै निर्णय पुनरावलोकन गर्न महानगरसँग माग गरेका छन् । महानगरले निर्णय नसच्याएको खण्डमा सडक आन्दोलन गर्नेसमेत उनीहरुको चेतावनी छ । महानगरले निर्णयमा पुनरावलोकन गर्नुको विकल्प नरहेको यातायात व्यवसायीहरुको भनाई छ । पूर्व अरनिको यातायात प्रा.लि. का अध्यक्ष केदार क्षेत्रीले यातायात क्षेत्र व्यवस्थापनमा कमजोरी रहेपनि अहिले नै यो निर्णय कार्यान्वयनका लागि चुनौति रहेको बताए। उनले महानगरले परिवर्तनको नाममा सुनियोजित रुपमा यातायात व्यवसायी र यात्रुलाई मर्का पर्नेगरी निर्णय गरेको आरोप लगाए। त्यसैगरी नेपाल यातायात मजदुर संगठनका केन्द्रीय महासचिव जगन्नाथ गौतमले राज्यको लगानीबाट चल्नुपर्ने यातायात क्षेत्रमा निजी क्षेत्रले लगानी गरेर सरकारलाई सहयोग गर्दापनि यातायात व्यवसायीविरुद्ध महानगरले क्रुर निर्णय लादेको आरोप लगाए। काठमाडौं महानगरपालिकाले आगामी असार १ गतेदेखि काठमाडौं भित्रिने र बाहिरिने सबै सवारीसाधनहरु गोंगबुस्थित् नयाँ बसपार्कबाट मात्रै सञ्चालन गर्न निर्देशन जारी गरेको छ । लामो, मध्यम र छोटो दुरीका सम्पूर्ण सवारीसाधनमा यात्रु चढ्न र ओराल्न नयाँ बसपार्कमै पुर्याउनुपर्ने महानगरको निर्देशन छ । महानगरले विभिन्न ठाउँमा छरिएर रहेका टिकट बुकिङ काउन्टरसमेत बसपार्कभित्र नै लैजान भनेको छ ।
हर्क साम्पाङविरुद्ध उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश जारी विराटनगर। उच्च अदालत विराटनगरले धरान उपमहानगरपालिकाका प्रमुख हर्क सम्पाङविरुद्ध दायर रिटमाथि अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । धरान खानेपानी बोर्डको सदस्यमात्र रहेका साम्पाङले नियमविपरीत अध्यक्षसरह काम गर्दै आएको भन्दै दायर रिटमाथि उच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । यद्यपी धरान खानेपानी बोर्ड अध्यक्षविहीन रहेको छ । हर्कविरुद्ध खानेपानी बोर्डका सदस्य विजय श्रेष्ठलगायतले खानेपानी बोर्डको बैठक नबोलाई हर्कले एकलौटी रुपमा काम गरेको भन्दै उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए । अदालतका न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले दुवै पक्षलाई छलफलका लागि जेठ ३२ गते बोलाएको छ ।
ललितपुरमै प्रहरीमाथि चक्कु प्रहार काठमाडौं। ललितपुरको पाटन क्याम्पसनजिकै प्रहरीमाथि चक्कु प्रहार भएको छ । एक किशोरले प्रहरी जवानमाथि चक्कु प्रहार गरेका हुन् । ललितपुर पाटनढोकामा रहेको पाटन क्याम्पसनजिकै रहेको एक क्यान्टिनका किशोरले प्रहरी जवानलाई बुधबार दिउँसो चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ । चक्कु प्रहारबाट प्रहरी जवान सामान्य घाइते भएका छन् । प्रहरीमाथि आक्रमण गर्ने युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मकवानपुरमा ५४ लाखको सुनसहित २२ वर्षीय युवक पक्राउ मनहरी। मकवानपुर प्रहरीले रु ५४ लाख बराबरको अवैध सुनसहित एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गर्दै करिब रु ५४ लाख ४८ हजार बराबरको अवैध सुनसहित एक युवकलाई नियन्त्रणमा लिई सार्वजनिक गरेको थियो। जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोष्टमा हेटौँडा आउँदै गरेको प्रदेश २–०३–००१ ख ०१५९ नंको बसमा उक्त सुनसहित युवकलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक वामदेव गौतमले बताए। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१६ का २२ वर्षीय किसन साह रहेको प्रहरी उपरीक्षक गौतमले बताए। साहले जुत्ताको नोकभित्र पाँच सय ६१.३० ग्राम सुन लुकाएर ल्याएको अवस्थामा समातिएको प्रहरीले जनाएको छ।
१६ जिल्लामा फैलियो दादुरा, एक हजारभन्दा बढी संक्रमित काठमाडौं । दादुराको प्रकोपबाट १६ जिल्लाका एक हजारभन्दा बढी बिरामी परेका छन्। स्वास्थ्य विभागको परिवार कल्याण महाशाखाले सार्वजनिक गरेको प्रतिवेदनमा १६ जिल्लाको एक हजार तीन जनामा दादुरा फैलिएको हो। महाशाखाका निर्देशक डा विवेककुमार लालका अनुसार मोरङ, सुनसरी, धनुषा, महोत्तरी, सर्लाही, चितवन, काठमाडौँ, कपिलवस्तु, अर्घाखाची, दाङ, बाके, बर्दिया, सुर्खेत, कैलाली, कन्चनपुर र बाजुरा जिल्लामा दादुराको प्रकोप भएको छ। ती जिल्लामध्ये सबैभन्दा बढी कैलाली, सुनसरी र महोत्तरी जिल्लाका बालबालिका बढी सताइएका छन्। कैलालीको धनगढी उपमहानगरपालिका, गौरीगङ्गा नगरपालिका र गोदावारी नगरपालिका, सुनसरीको बर्जु नगरपालिका र महोत्तरीको गौलाशा नगरपालिका–२ र ५मा दादुराको प्रकोप बढेको छ। ती स्थानीय तहका छ महिनादेखि १५ वर्ष उमेरसमूहका बालबालिकालाई दादुरा विरुद्धको खोप लगाइएको र अहिलेसम्म बाँकेको नेपालगङ्जमा एक जनाको मृत्यु भएको प्रतिवेदनमा उल्लेख गरिएको छ। यही जेठ २४ गते काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा देखिएको दादुरा नियन्त्रणमा आएको महाशाखाले जनाएको छ । दादुरा फैलिएका जिल्लामा हालसम्म दुई लाख १५ हजार ५४ जनालाई दादुरा विरुद्धको खोप लगाइएको छ। बाल स्वास्थ्य तथा खोप शाखाले यही जेठ २५ गतेदेखि सुनसरी मोरङ, महोत्तरी, बर्दिया, दाङ, सुर्खेत, कैलाली, कन्चनपुर र बाजुरा जिल्लाका छ महिनादेखि १५ वर्ष मुनिका बालबालिकालाई दादुरा र रुवेला विरुद्धको खोप अभियान शुरु गरेको छ। दादुरा र रुवेला रोग कोरोना भाइरसभन्दा पनि तीव्रगतिले फैलिनाका साथै मृत्युदर पनि उच्च रहेको छ। एक जना दादुरा सङ्क्रमितले १८ जनासम्ममा रोग सार्न सक्ने जनाइएको छ । मन्त्रालायले यसअघि जतिपटक खोप लगाएपनि अभियानका क्रममा पुनः खोप लगाउन आग्रह गर्दै आएको छ। महाशाखाले काठमाडौँका सबै स्वास्थ्य संस्था तथा निजी अस्पतालमा सक्रिय दादुराका बिरामी खोजी जारी राखेको जनाउँदै ती स्वास्थ्य संस्था तथा निजी अस्पताललाई दादुराका बिरामीको विवरण नगरपालिका र स्वास्थ्य सेवा विभागमा उपलब्ध गराउन अनुरोध गरेको छ । यस्तै दादुराको निगरानीका लागि सबै जिल्ला र नगरपालिका स्रोत व्यक्तिलाई संवेदनशिल हुनसमेत महाशाखाले अनुरोध पनि गरेको छ।रासस
सशस्त्र प्रहरीद्वारा चोरीपैठारीको विभिन्न सामान बरामद रुपन्देही। जिल्लाको सिद्धार्थनगर नगरपालिका–१ डण्डा ईलाकाबाट जेठ ३० गते सशस्त्र प्रहरीले १ लाख २० हजार ७ सय ४० रुपैयाँ बराबरको विभिन्न सामान बरामद गरेको छ । भारतबाट नेपालतर्फ ल्याउँदै गरेको चोरीपैठारीको ड्रिल मेशिन, लत्ताकपडा तथा मोबाईल ऐक्सेसरिज सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डा (वीओपी डण्डा) ले बरामद गरेको हो। बरामद सामान भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा बुझाइएको छ।
‘रगत अभावमा कोही मर्न नपरोस्’ काठमाडौं।वर्षौंदेखि ‘रक्तदान जीवनदान, रक्तदान महादान’ भनेर प्रचार गरिए पनि अझै एक प्रतिशतले पनि रक्तदान गर्ने गरेको पाइँदैन। नेपालमा कूल जनसङ्ख्याको शून्य दशमलव ८ प्रतिशतले मात्र रक्तदान गर्ने गरेको पाइन्छ। त्यसमा पनि धेरैले नियमित रक्तदान गरेको पाइँदैन। रक्तदातामध्ये करिब १७ प्रतिशत महिला हुनुहुन्छ र पुरुष ८३ प्रतिशत रहेका छन्। विश्व स्वास्थ्य सङ्गठनका अनुसार एउटा देशमा रगतको अभाव हुन नदिन कम्तीमा पनि दुई प्रतिशतले रक्तदान गर्नुपर्ने हुन्छ। रक्तदान गर्दा दुर्वल वा कमजोर भइन्छ, अनेक रोग सर्छ र गरिरहेको काममा ह्रास आउँछ भन्ने गलत सोचका कारण पनि धेरैले रक्तदान गर्न योग्य व्यक्तिहरु हिच्किचाउने गर्दछन्। रक्तदान गर्नाले अरूको जीवनमात्र बच्दैन, रक्तदान गर्ने व्यक्ति स्वयम्को शरीरसमेत स्वस्थ रहन्छ भन्ने जानकारीको अभाव रहेको छ। सामान्यतः १८ देखि ६० वर्षसम्म उमेर र ४५ किलोग्रामभन्दा बढी तौल भएका साथै सबै शारीरिक र हेमाटोलोजिकल मापदण्ड पूरा भएको तथा शरीरमा रगत न्यूनतम् तीन सय ५० मिलिलिटर भएका जो कोहीले पनि रक्तदान गर्न सक्दछन्। सामान्यतयाः एउटा व्यक्तिको शरीरमा छ लिटर (करिब दश युनिट) रगत उत्पादन हुन्छ। जबकि रक्तदानको समयमा भने एक युनिट अर्थात् चार सय ७० मिलिमिटर रगतमात्र निकाल्ने गरिन्छ। त्यो भनेको शरीरमा भएको सबै रगतको १२ देखि १४ प्रतिशतमात्र भएकाले रक्तदानका क्रममा त्यसरी रगत निकाल्दा रक्तदातालाई भने कुनै हानि गर्दैन। एउटा व्यक्तिको शरीरमा रगत निर्माण भएको एक सय २० दिनभित्र उक्त रगत स्वतः नष्ट हुने गर्छ। सोही रगत अरूलाई दान गर्दा व्यक्तिको शरीरमा छिटोछिटो रगतको उत्पादन हुने गर्दछ। नेपाल स्वयम्सेवी रक्तदाता समाज अध्यक्ष प्रेमसागर कर्माचार्य स्वयम्सेवी रक्तदाताहरूले दानमा प्रदान गरिएको रगत र रगतबाट तयार पारिएका रक्त-तत्वहरू पीडित बिरामीहरूसमक्ष गुणस्तरीय परीक्षणपश्चात् निःशुल्क उपलब्ध एवं वितरण नगरेसम्म व्यापार नै हुने बताउँछन्। सरकारले स्वयम्सेवी रक्तदाताहरूद्वारा दानमा प्रदान गरेको रगत र रगतबाट तयार पारिएका रक्त-तत्वहरूमा गरिएको शुल्क निर्धारणले स्वयम्सेवी रक्तदाताहरूको मनोबलमा प्रतिकूल असर पुगेको उनको भनाइ छ। देशका प्रमुख अस्पतालहरुमा जटिल रोगहरुको उपचार सम्भव एवम् सुविधामा आएको अभिवृद्धिका साथै दिनहुँ बढ्दै गइरहेको दुर्घटना तथा प्राकृतिक विपद् लगायतका कारणले रगतको मागमा अत्यधिक वृद्धि भइरहेको छ। चोटपटक लागेका बिरामी, दुर्घटनामा परेका व्यक्ति, आपत्कालीन एवम् प्रकोपका बेला, बच्चा र गम्भीर रक्तअल्पत्ता भएका वयस्कहरू, रक्तस्रावसँग सम्बन्धित बच्चाहरु, उन्नत शल्यप्रक्रियामा रहेका बिरामीहरू, गम्भीर रक्तअल्पता भएका गर्भवती आदिलाई रगत आवश्यक पर्दछ। सुरक्षित रगतले प्रत्येक वर्ष लाखौँ मानिसको ज्यान बचाउन सकिन्छ। पछिल्लो समय रगतको अभाव बढ्दै गएको छ। दैनिक रुपमा अस्पतालमा रगत खोज्ने बिरामीका आफन्तको सङ्ख्या बढ्दो छ। तर मागअनुसार आपूर्ति भने निकै कम छ। यसले गर्दा आम मानिसमा रगतको माग र आपूर्तिको सन्तुलन मिल्न सकेको छैन। अहिलेसम्म जम्मा तीन लाख मानिसले मात्रै रक्तदान गरेका छन्। काठमाडौँमा पाँच/छ सय पिन्ट रगतको माग हुने गर्दछ। शनिबार करिब ३०/४० वटा शिविरहरु सञ्चालदन हुने हुँदा धेरै परिणाममा रक्तदान हुने भएकाले त्यसले दुई/तीन दिनलाई पुगे पनि बाँकी दिन अभाव नै हुने गरेको ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोदान) का केन्द्रीय अध्यक्ष सानुबाबु प्रजापति बताउँछन्। विज्ञानले हालसम्म पनि रगतको विकल्प पत्ता लगाउन नसकिएरहेको सन्दर्भमा बिरामीलाई रक्तसञ्चारको आवश्यकता भएमा स्वसेवी रक्तदाताहरुबाटै सुरक्षित रक्तदान गराउनुको विकल्प छैन। अहिले पनि रक्तदाताहरुको दानबाट नै बिरामीले रगत पाइरहेका छन् र जीवन बचाइरहेका छन्। रगत दान गर्ने प्रत्येक व्यक्तिले रगत दिनुअघि साधारण शारीरिक परीक्षण र रगत परीक्षण पूरा गर्नुपर्छ। व्यक्तिको रक्तचाप, शरीरको तापक्रम, मुटुको दर, हेमोग्लोबिन वा फलामको स्तर सामान्य सीमाभित्र हुनुपर्ने प्रजापति बताउँछन्। चिकित्सकहरुका अनुसार चिसो, फ्लु, घाँटी दुखाइ, पेट सङ्क्रमण भएका व्यक्तिहरू, ट्याटु वा शरीर छेड्ने व्यक्तिहरूले भर्खर प्रक्रियाको दिनदेखि छ महिनासम्म रगत दान दिन सक्दैनन् भने १३ ग्राम प्रतिडिसीलिटर एलभन्दा कम एच बी भएका पुरुष र १२ ग्राम प्रतिडिसीलिटर एलभन्दा कम एच बी भएका महिलाले रक्तदान गर्न सक्दैनन्। यसैगरी, एचआइभी सङ्क्रमित व्यक्ति, रिक्रिएसनल औषधिहरुको प्रयोग गर्ने व्यक्ति, गर्भवती र स्तनपान गराउने महिलालाई बच्चा जन्माएको नौ महिनासम्म रक्तदान गर्न अनुमति छैन। सुरुसुरुमा स्वयम्सेवी रक्तदाताहरुको कमी हुँदा बिरामीका आफन्तहरुले आफ्नो मान्छेका लागि बाध्यताले रगत दिन्थे भने पैसा तिरेर पेसेवर रक्तदाताहरुबाट रगत खरिद गरिन्थ्यो। नेपालमा स्वयम्सेवी रक्तदानको सुरुआत २००० सालमा स्व दयावीर कंसाकारले गरेका थिए। पछि २०२३ सालमा वीर अस्पतालमा लक्ष्मी ब्लड बैंकको स्थापना भई नेपालको राष्ट्रिय रक्तसञ्चार सेवा सुरु भएको थियो। स्वयम्सेवी रक्तदाता तथा रक्तदान गर्ने संस्थाहरुसँग स्वयम्सेवी रक्तदाताको अभाव, रक्तदानको प्रचारप्रसार नहुँदा तिनै पेसेवर रक्तदाताहरुको सहारा लिनुपर्ने बाध्यता रहेको थियो। नेपाल रेडक्रस सोसाइटीले २०३३ सालमा रक्तसञ्चार सेवा केन्द्र काठमाडौं स्थापना गरी यसअन्तर्गत विभिन्न जिल्लामा संस्थागत रुपमा रक्तदान कार्यलाई अगाडि बढाएको थियो। पछि बिरामीलाई स्वच्छ तथा स्वस्थ रगत उपलब्ध गराउन सहयोग पुर्‍याउनका लागि काठमाडौं उपत्यकाका स्वयम्सेवी रक्तदान गर्ने विभिन्न संघसंस्थालाई संगठित गरी २०४६ सालमा ब्लड डोनर्स क्लबको स्थापना गरी २०४९ सालमा ब्लोदानको स्थापना गरियो। ब्लोदानका केन्द्रीय अध्यक्ष प्रजापतिले केन्द्रले विभिन्न राष्ट्रिय/अन्तरराष्ट्रिय संघसंस्थाहरुको सहकार्यमा रगतसम्बन्धी जनचेतनालगायत अन्य गतिविधिहरु निरन्तर सञ्चालन गर्दै आएको र यस वर्ष पनि विश्व रक्तदाता दिवसका अवसरमा यही जेठ २४ देखि ३१ गतेसम्म रक्तदान विभिन्न कार्यक्रमको आयोजना गरिएको बताउँछन्। ‘रगतको अभावमा कुनै पनि बिरामीको अकालमा मृत्यु नहोस्’ भन्ने मूल उद्देश्यका साथ विभिन्न कारणहरुले रगत आवश्यक परेका बिरामीहरुलाई विना शोधभर्ना स्वस्थ रगत सहजरुपमा रगत उपलब्ध गराउन ‘बिना शोधभर्ना बिरामीलाई रगत उपलब्ध गराउन स्वयम्सेवी रक्तदान अभियानमा सहभागी होऔं’ भन्ने मूल नाराका यस वर्ष विभिन्न कार्यक्रमहरु सञ्चालन गरिएको उनको भनाइ छ। रगतको अभावले ज्यान गएको छैन। आफन्त साथीभाइ र सामाजिक सञ्जालमार्फत बिरामीले आवश्यक पर्दा रगत प्राप्त गर्न सकेका छन्। सरकारले यस वर्ष पनि डेङ्गुको जोखिम आउनसक्ने बताएकाले अहिलेदेखि नै रगतको अभाव हुन नदिन उच्च सतर्कता देखाउनुपर्ने केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक दिव्यराज पौडेल बताउँछन्। उनका अनुसार रेडक्रसको देशभरिको तथ्याङ्क हेर्दा १४ प्रतिशत शोधभर्नाबाट रगत प्राप्त भइरहेको छ भने ८६ प्रतिशत शिविर र स्वयम्सेवीहरुबाट भएको छ। राष्ट्रिय रक्तसञ्चार नीति २०७१ मा शत्प्रतिशत नै स्वयम्सेवी रक्तदाताहरुबाट हुनुपर्ने व्यवस्था रहेकाले स्वयम्सेवी रक्तदाताको सङ्ख्यात्मक वृद्धिसँगै उनीहरुलाई तीन/तीन महिनाको अन्तरमा रक्तदान गर्न उत्प्रेरित गराउनुपर्ने हुन्छ। नीति बनेको १० वर्ष भइसक्दा पनि यसम्बन्धी कानुन नहुँदा धेरै समस्या रहेको पौडेल बताउँछन्। ‘नियमितरुपमा रगत तथा प्लाज्मा दान गरौँ, जीवन बचाउने कार्यमा हातेमालो गरौँ’ भन्ने नाराका साथ आज विश्व रक्तदाता दिवस विश्वभर मनाउन विश्व स्वास्थ्य संगठनले आह्वान गरेअनुरुप ब्लोदानले  पनि यही जेठ २४ देखि ३१ गतेसम्म रक्तदान विभिन्न कार्यक्रमको आयोजना गरिएको छ। विश्व स्वास्थ्य संगठनको आह्वानमा ए, बी, ओ रक्त समूह पत्ता लगाउने नोवेल पुरस्कार विजेता महान् वैज्ञानिक डा. काल्र्स ल्यान्डस्टेनरको जन्मदिन जुन १४ को अवसर पारी सन् २००४ देखि सप्ताहव्यापी रुपमा मनाउन सुरु गरिएको हो।
छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु काठमाडौँ।  देशका छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। काठमाडौं महानगरपालिका-३२ जडिबुटीस्थित सडकमा बा.५ ख ३४३७ नम्बरको टिपरले बागमती प्रदेश-०२-०२६ प २१२१ नम्बरको मोटरसाइकललाई मंगलबार राति ठक्कर दिँदा मोटरसाइकलमा सवार दोलखा शैलुङ्ग गाउँपालिका-२ घर भई काठमाडौं कोटेश्वर बस्ने ३० वर्षीय झनक थापा मगरको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्‍ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सिभिल अस्पताल नयाँबानेश्वरमा उपचार भइरहेको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रूपन्देही, तिलोत्तमा नगरपालिका-६ स्थित १२ नम्बर नजिक भित्री सडकमा लु.१० प ४६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा चालक बुटवल उपमहानरपालिका-१८ पोखरावारी बस्ने २५ वर्षीय सोहन कुमालको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएको उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो । अर्घाखाँची, भूमिकास्थान नगरपालिका-७ टिमुरे गैरास्थित सडकमा रा.४ त ४२९५ नम्बरको ट्याक्टर अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा चालक प्युठान ऐरावती गाउँपालिका-१ कोल्बोट बस्ने २७ वर्षीय कमल सोमै मगरको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल सन्धिखर्कमा उपचारको क्रममा मृत्यु भएको हो। अन्य २ जना घाइतेको सोही अस्पतालमा उपचार भइरहेको छ। कैलाली, धनगढी उपमहानगरपालिका-१७ धुर्जन्नास्थित सडकमा से.७ प ५४८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ४५ वर्षीय धनिराम चौधरीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
हाम्रो गिफ्ट्स र देवयानी इन्टरनेशनलबीच सहकार्य, अब विदेशमै बसेर फास्ट फुडहरू अर्डर गर्न सकिने काठमाडौँ। ‘हाम्रो गिफ्ट्स’ले नेपालभर सेवालार्ई विस्तार गर्दै प्रयोगकर्ताहरुले आफ्ना आफन्तजनलाई उपहार पठाउने सेवालाई थप विस्तार तथा विश्वसनिय बनाउदै देवयानी इन्टरनेशनल नेपालसँग सहकार्य गरेको छ। यसले विश्वभर छरिएर बसेका नेपालीले नेपालमा रहेका आफ्ना प्रियजनहरूलाई उपहार पठाउनको लागि सेवा विस्तार गरेको छ। देवयानी इन्टरनेशनल नेपालले नेपालमा भएका के.एफ.सी (KFC) र पिज्जा हट (Pizza Hut) का फास्ट फुडहरू सञ्चालन गर्दै आएको छ। यसै प्रक्रिया अनुरुप देवयानी इन्टरनेशनल नेपाल र हाम्रो गिफ्टले पारस्परिक रूपमा लाभदायक कार्य सम्बन्ध स्थापना गर्ने उदेश्यले समझदारी पत्रमा हस्ताक्षर गरेका छन्। यो साझेदारी पश्चात विदेशमा रहेका नेपालीहरूले आफ्ना प्रियजनहरूलाई के.एफ.सी. (KFC) र पिज्जा हट (Pizza Hut) का परिकारहरू हाम्रो गिफ्टको नेटवर्क मार्फत पठाउन सक्नेछन्। यस साझेदारीबाट विदेशमा रहेका नेपाली नागरिकहरूलाई नेपालमा रहेका आफ्ना प्रियजनहरूसँग अझ नजिक बनाउने विश्वास लिइएको छ। यस प्लेटफर्मले नेपाल बाहिर बसोबास गर्ने ब्यक्तिहरुले आफ्ना आफन्तसँगको भौतिक दूरीलाई कम गरी अझ मजबुत बनाउने ब्यहोरा देवयानी इन्टरनेशनल नेपालका प्रमुख वित्तिय अधिकृत रितुराज शाहले बताए। ‘यस सहकार्यले हामीलाई छिटो र भरपर्दो डेलिभरी सेवाहरू सुनिश्चित गरेर हाम्रा ग्राहकहरूलाई अझ बढी आनन्दको बातावरण रचना गर्नेछ र यो रणनीतिक गठबन्धनले बजारमा हाम्रो स्थिति बलियो बनाउने र विश्वव्यापी रूपमा नेपाली समुदायको सेवा गर्ने हाम्रो प्रतिबद्धतालाई बलियो बनाउनेछ’ हाम्रो गिफ्ट्सका निर्देशक मनिषमान महर्जनले भने।
जुवातास खेलिरहेको अवस्थामा २२ जना पक्राउ काठमाडौँ। विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले २२ जनालाई पक्राउ गरेको छ। भक्तपुर, सूर्यबिनायक नगरपालिका-१ सिरुटार बिरुवा बसपार्कस्थित पार्किङमा राखेको बा.प्र-०१-००६ ख १५१८ नम्बरको बसमा जुवातास खेलिरहेको अवस्थामा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-३ बस्ने २३ वर्षीय जिवन अर्यालसहित ९ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा प्रहरी प्रभाग सिरुटारबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७२ हजार ५ सय ४५ रूपैयाँ र २ बुक ताससहित फेला पारी पक्राउ गरेको हो । लमजुङ, दोर्दी गाउँपालिका-४ नौथर सेरास्थित ए वन होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २९ वर्षीय कुमार राना समेत ७ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय लमजुङ र प्रहरी चौकी श्रीभञ्ज्याङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७६ हजार ६ सय ३५ रूपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो। तेह्रथुम, आठराई गाउँपालिका-१ फाल्गुनन्द चोकस्थित पाथिभारा भ्यू होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका-६ चुहानडाँडा बस्ने ३५ वर्षीय लोक नारामान कन्दङ्वासहित ६ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय आठराईबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २९ हजार २ सय १ रूपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
चिहानडाँडा नजिकै बोराभित्र मृत भेटिएकी महिलाको सनाखत दमौली। तनहुँको व्यास नगरपालिका–४ स्थित चिहानडाँडा नजिकको नालामा बोराभित्र मृत फेला परेकी महिलाको सनाखत भएको छ। मंगलबार बिहान चिहानडाँडास्थित सुवर्ण कच्ची सडकको कुनामा रहेको ढलको पानीका लागि बिछ्याइएको ह्युमपाइपमा बोराभित्र फेलापरेकी अन्दाजी २५–३० वर्षीया महिलाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले मृतक महिला व्यास नगरपालिका–१४ छाब्दी निवासी रहेको जानकारी दिए। उक्त घटनामा प्रहरीले एक जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। उनले भने, “लगभग सनाखत भएको छ, एक जनालाई अनुसन्धान गरिरहेका छौँ। पूरा विवरण आज दिउँसोसम्ममा सार्वजनिक गर्छौँ।” अनुसन्धान प्रक्रियाका कारण मृतक महिलाको नाम र पक्राउ परेका व्यक्तिको नाम अहिले सार्वजनिक नगरिएको प्रनाउ खाणले बताए। बोराभित्र हात बाँधिएको अवस्थामा ती महिला मृतावस्थामा फेला परेकी थिइन्। उक्त बाटो हिडडुल गर्ने स्थानीयवासीले गन्ध आएपछि प्रहरीलाई खबर गरेका थिए।
च्यानल फाइनान्सिङ–कठिन परिस्थितिमा व्यावसायिक सशक्तिकरण काठमाडौँ। सुस्त आर्थिक अवस्था र समग्र बैंकिंग तरलतामा देखा परेको संकटको सामना गर्दै नेपालले अहिले विभिन्न आर्थिक चुनौतीहरुको अवस्थाबाट गुज्रिरहेको छ। निर्माण क्षेत्र, जुन विकासको प्रमुख आधार हो, त्यसमा समेत पर्याप्त तरलता अभावको कारण मन्दी छाएको छ। यसबाट पेन्ट व्यवसाय समेत गहन मारमा परेको छ भने निर्माण क्षेत्र र समयमै वक्यौता असुलीमा समेत असर पर्न गएको छ। उद्यपि, यी विविध कठिनाइहरुका बावजुद पनि डिलरहरुको हितमा “च्यानल फाइनान्सिङ” एक आशाको रुपमा देखा परेको छ। च्यानल फाइनान्सिङ एक त्यस्तो कार्यक्रम हो, जसले बैंकहरुबाट अत्यावश्यक तरलता सहायता प्रदान गर्दछ, र अहिलेको चुनौतीपूर्ण अवस्थामा चालू पूँजीको व्यवस्था गर्न समस्या परिरहेका व्यवसायहरुलाई टेवा प्रदान गर्दछ। डिलरहरुले अब प्रतिस्पर्धात्मक ब्याजदरमा आवश्यक रकमको व्यवस्था गर्न सक्दछन् जसबाट उनीहरु आर्थिक मन्दीमा अझ प्रभावकारी ढँगबाट अघि बढ्न सक्षम हुनेछन्। थप के छ भने, यो कार्यक्रमले डिलरहरुलाई धरौटी राखेर अधिक कर्जा सीमाहरुको पनि व्यवस्था गरिदिएको छ। यो कर्जा विस्तारका विकल्पहरुले डिलरहरुलाई उनीहरुको व्यवसाय कायम राख्न र त्यस्को वृद्धि गर्न आवश्यक लचकता प्रदान गर्दछ। यसका अतिरिक्त, प्रतिस्पर्धात्मक ब्याजदरमा च्यानल फाइनान्सिङले डिलरहरुलाई अन्य लाभहरुको अवसर पनि प्रदान गरेको छ। त्यस्तो लाभहरु मध्ये एक निर्धारित कर्जा प्रशोधन शुल्कको तुलनामा यसको कर्जा प्रशोधन शुल्क न्यून हुनु हो। यसरी खर्चमा कमी आउनाले डिलरहरुलाई आर्थिक सहायता खोज्न र उनीहरुको कार्यहरुको दायरा फराकिलो बनाउन अझ बढी सम्भव बनाइदिन्छ। यसका साथै डिलरहरुले उपलब्ध सीमाको हदमा रहेर चाडपर्व वा समयानुकूल आवश्यकताहरु परिपूर्ति गर्नका लागि तदर्थ वा अस्थायी सीमाहरुमा पहुँच राख्न सक्दछन्। यसप्रकारको सुविधाजनक लचिलोपनाले व्यवसायीहरुलाई अवसरहरुको फाइदा उठाउन र बजारको मागलाई अझ बढी प्रभावकारी रुपमा समायोजन गर्न सक्षम बनाउँछ। डिलरहरुलाई थप प्रोत्साहित गर्नु पर्ने आवश्यकतालाई मध्यनजर राख्दै बैंकहरुले स्विचिङलाई प्रोत्साहन दिन आकर्षक योजनाहरु प्रस्तुत गरेका छन्। डिलरहरुले अब न्यून लागतमा बैंक बदल्न सक्नेछन् भने साथै फ्रि क्रेडिट कार्डहरु र घातक रोग बीमा कभरेज सुविधाहरु पनि प्राप्त गर्न सक्नेछन्। यसबाट डिलरहरुका लागि मुल्य प्रस्ताव मात्र बढ्ने नभई बैंकिंग संथाहरुसंग उनीहरुको सम्बन्ध पनि प्रगाढ हुनेछ। सँक्षेपमा भन्ने हो भने च्यानल फाइनान्सिङ नेपालले सामना गरिरहेको आर्थिक चुनौतीहरुका बीचमा एक बलियो आशाको किरण बनेर देखा परेको छ। यसले चुनौतीपूर्ण वर्तमान समयमा पुनरुत्थान गर्न र विकासलाई गति दिन नवीनतम वित्तीय समाधानहरुको शक्तिलाई प्रमाणको रुपमा काम गर्दछ। तरलता समर्थन, प्रतिस्पर्धात्मक ब्याजदरहरु, र अतिरिक्त लाभहरु प्रदान गरेर च्यानल फाइनान्सिङले डिलरहरुलाई उनीहरुको व्यवशाय विकासमा उत्पन्न भैरहेको बाधाबाट पार पाउन सशक्त बनाउँदछ। यसका अतिरिक्त, यसले समग्र आर्थिक परिदृश्यलाई बलियो बनाउँदै र उज्जवल भविष्यको लागि मार्ग प्रशस्त गरेर बैंकहरु, डिलरहरु र उत्पादकबीचको सौहाद्रपूर्ण सम्बन्ध कायम राख्न मद्दत गर्दछ। एशियन पेन्ट्स नेपाल र नबिल बैंकबीच हालसालै नेपालभर रहेका एशियन पेन्ट्सका डिलरहरुलाई च्यानल फाइनान्सिङको लाभ प्रदान गर्ने सम्बन्धमा एक सम्झौता सम्पन्न भएको छ। सम्झौता पत्रमा एशियन पेन्ट्स नेपालको तर्फबाट कन्ट्रि डाइरेक्टर गोपालकृष्णन् जि र नबिल बैंकको तर्फबाट सिइओ ज्ञानेन्द्र प्रसाद ढुँगानाले काठमाडौंमा आयोजित एक कार्यक्रममा हस्ताक्षर गरेका थिए।
विवाह गर्न वडाको सिफारिस अनिवार्य जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व वडाको सिफारिस अनिवार्य गरेको हो । वडाध्यक्ष शिवराज गिरीले भने, “बढ्दै गएको बालविवाहलाई मध्यनजर गरी यस वडाले न्यूनीकरणका लागि सम्पूर्ण टोल बस्तीमा विवाहपूर्व वडाबाट सिफारिस लिई विवाह कार्य अगाडि बढाउन अनुरोध गरेको छ ।” विवाहका लागि वडाबाट सिफारिस लिँदा उनीहरूको वास्तविक जन्म मिति थाहा हुने र बालविवाह न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा वडाले लिएको शिवराज गिरीले जानकारी दिए । वडालाई बालमैत्री वडा घोषणा गरिएको छ । बालमैत्री वडाको दिगोपनका लागि विवाहका लागि उमेर पुगेका युवायुवतीले वडा कार्यालयबाट अनिवार्य सिफारिस लिनुपर्ने नियम बनाइएको वडाध्यक्ष गिरीले बताए । जन्मदर्ता र नागरिकता साथमा ल्याई विवाहका लागि सिफारिस लिन सकिने छ ।
आज विश्व रक्तदाता दिवस सचेतनामूलक कार्यक्रम गरी मनाइँदै काठमाडाैं। आज विश्व रक्तदाता दिवस नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ। हरेक वर्षको जुन १४ का दिन विश्वभरका देशले विश्व रक्तदाता दिवस मनाउने गर्छन्। यस दिवसमा सुरक्षित रगत र रगत उत्पादनको आवश्यकताबारेमा सचेतना जगाउन र रक्तदान गर्न प्रेरित गर्दै आइएको छ । रक्तदातालाई धन्यावाद दिनका रुपमा पनि मनाउने गरिन्छ। यस वर्ष ‘नियमितरुपमा रगत तथा प्लाज्मा दान गरौं, जीवन बचाउने कार्यमा हातेमालो गरौं’ भन्ने नाराका साथ विश्व रक्तदाता दिवस मनाइँदै छ। नाराले जीवनपर्यन्त रगतको आवश्यक पर्ने बिरामीलाई रगत र प्लाज्मा दान गरेर सहयोग गर्न हरेक व्यक्तिले खेल्ने भूमिकाको महत्वलाई दर्शाएको छ। यसले नियमितरुपमा रगत र प्लाज्माको दानमार्फत दिगो र सुरक्षित आपूर्तिको महत्वबारे समेत चर्चा गरेको छ। यही अवसरमा देशभरका विभिन्न संघसंस्था र अस्पतालले रक्तदानसम्बन्धी जनचेतना फैलाउने, दातालाई प्रोत्साहन गर्ने र रक्तदानको कार्यक्रम आयोजना गरेको छ। यस दिवसका अवसरमा ब्लड डोनर्श एसोसिएसन नेपालले विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको छ। एसोसिएसनले साताव्यापी चेतनामूलक कार्यक्रमको आयोजना गरिरहेको एसोसिएसनका महासचिव केशव मर्हजनले जानकारी दिए। “साइकल र्‍याली, महिला रक्तदाता अभिमुखीकरण, चित्रकला र रक्तदाता सम्मानलगायतका कार्यक्रम अयोजना गरेका छौं”, उनले भने, “अस्पतालमा रगतको व्यवस्थापनमा असहज र रक्तादातालाई प्रोत्साहन गर्न नसक्नु अहिलेको चुनौती हो।” यस दिनलाई मानव रगतको समूह पत्ता लगाउने वैज्ञानिक डा. कार्ल ल्याण्डस्टाइनरको जन्मदिन जुन १४ को अवसर पारेर हरेक वर्ष विश्व रक्तदाता दिवस मनाइन्छ। पहिलो विश्व रक्तदाता दिवस सन् २००४ मा मनाइएको थियो भने सन् २००५ मा ५८औं विश्व स्वास्थ्य सभाद्वारा वार्षिक विश्वव्यापी कार्यक्रमको रुपमा नामकरण गरिएको थियो।
आजको मौसमः चार प्रदेशमा पानी पर्ने, तराइमा अत्याधिक गर्मीकाे संभावना काठमाडौं। हाल देशमा पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको देखिन्छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू साथै मधेश प्रदेशको एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र मधेश प्रदेश लगायत बाँकी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। राती भने कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै मधेश प्रदेश लगायत बाँकी पहाडी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। देशका मध्य तथा पश्चिम तराईका भू-भागहरूमा अत्याधिक गर्मी हुने सम्भावना यथावत् देखिन्छ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा साथै मधेश प्रदेश लगायत देशका बाँकी पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। तसर्थ, अत्याधिक गर्मी, मेघगर्जन र चट्याङ तथा वर्षाबाट हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
तनहुँको व्यासमा महिलाको शव फेला तनहुँ । जिल्लाको व्यास नगरपालिका–४ स्थित चिहानडाँडा नजिक बोराभित्र महिलाको शव फेला परेको छ । नालामा बोराभित्र अन्दाजी २२ वर्षकी महिलाको शव सडिसकेको अवस्थामा मंगलबार फेला परेको जिल्ला प्रहरीले जनाएको छ । सुवर्ण मार्गको कच्ची सडकको कुनामा रहेको ढलको पानी जानका लागि बिछ्याइएको ह्युम पाइपमा प्लास्टिकको बोराभित्र शव फेला परेको महिलाको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले बताए । घटनास्थलमा प्रनाउ खाँणको नेतृत्वमा प्रहरी टोली पुगेर अनुसन्धान गरेको छ ।
फरार ढोरपाटन नगरपालिकाका मेयरविरुद्ध सात सय ६८ उजुरी बलेवा। केही दिनयता जिल्ला प्रहरी कार्यालय बागलुङको परिसरमा भीडभाड छ । कार्यालयका सूचना अधिकारीसमेत रहेका प्रहरी नायब उपरीक्षक मदन केसीलगायतका प्रहरी अधिकृत इमेज सहकारी पीडितका गुनासो सुन्नमै व्यस्त छन् । पीडितले दिएका निवेदन लिने र दर्ता गर्ने उनीहरुको दैनिकी बनेको छ । बागलुङमा कार्यालय सञ्चालन गरेका इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपालीविरुद्ध हालसम्म सात सय ६८ वटा उजुरी परेका छन् । ढोरपाटन नगरपालिकाका प्रमुखसमेत रहेका नेपाली जेठ ५ देखि सम्पर्कमा छैनन् । इमेज सहकारीका संस्थापक अध्यक्ष नेपालीसहित कार्यबाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनिल नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन र सञ्चालक सदस्य चित्रबहादुर भण्डारी, रूपा विक र झगबहादुर शाहीलाई ७ वैशाखमा गृहमन्त्रालयले यात्रा अनुमतिमा रोक लगाएको थियो । हालसम्म उनीहरु बेपत्ता छन् । “नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानले खोजी गरिरहेको छ, तर कोही भेटिएका छैनन्” प्रहरी नायब उपरीक्षक मदन केसीले भने, “उजुरी गर्नेहरु राति ८ बजेसम्म लाइनमा हुन्छन्, केही दिन भयो हाम्रो कार्यालय भीडले भरिएको छ ।” बचतकर्ताको रु दुई अर्बभन्दा बढी रकम हिनामिना गरेको आरोप नेपालीमाथि छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जेठ १६ गते उनीसहित पदाधिकारीले बचतकर्ताको अर्बौं रकम अपचलन गरी सङ्गठित ठगी गरेकाले उनीहरुविरुद्व उजुरी लिन पत्राचार गरेको थियो । जिल्ला प्रहरी कार्यालय बागलुङले जेठ २१ गते बचत रकमसहित प्रमाण जुटाएर उजुरी दिन आह्वान गरेको थियो । जसअनुसार सोमबार बेलुकासम्म सात सय ६८ जनाले रकम मागदाबीसहित उजुरी गरेको र अझै चार हजारभन्दा बढी सङ्ख्यामा बचतकर्ताको उजुरी आउनसक्ने अनुमान गरिएको केसीले जानकारी दिए। उनका अनुसार हालसम्म रु ८९ करोड ६६ लाख बचत रकम पाउनुपर्ने दाबी गरिएको छ । इमेज सहकारीको बागलुङ बजार, गलकोट र बुर्तिबाङमा गरी तीन वटा शाखा बागलुङमा मात्र छन् भने पोखरा सिर्जनाचोकमा समेत यसको शाखा छ । बागलुङमा मात्ररु दुई अर्बभन्दा बढी रकम हिनामिना भएको अनुमान गरिएको छ । पोखरा सिर्जनाचोकमा रहेको सहकारीका बचतकर्ता पोखरा महानगरको सहकारी महाशाखा र जिल्ला प्रहरी कार्यालयमा धाइरहेका छन् । बागलुङ र पोखरा दुवै ठाउँका बचतकर्ताले सङ्घर्ष समिति नै बनाएर धर्ना तथा दबाब कार्यक्रम गरिरहेका छन् ।
एसईईका विद्यार्थीलाई लक्षित गर्दै ‘स्टेप बृहत् शैक्षिक मेला २०८०’ आयोजना हुँदै काठमाडौं। एसईई दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै काठमाडौंमा आगामी असार १ र २ गते ‘स्टेप बृहत् शैक्षिक मेला–२०८०’ आयोजना हुने भएको छ । माध्यमिक तथा उच्च माध्यमिक शिक्षालयहरूको छाता सङ्गठन स्ट्यान्डर्ड टिचिङ्ग एन्ड इभ्यालुसन प्रोस्युडर (स्टेप) ले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरि शिक्षालयलले प्रदान गर्दै आएका शैक्षिक तथा भौतिक सुविधाहरूको जानकारी दिनका लागि ‘स्टेप बृहत् शैक्षिक मेला–२०८०’ आयोजना गर्न लागेको जनाएको हो । माध्यमिक शिक्षा परीक्षा(एसईई)मा सहभागी विद्यार्थीहरूका लागि स्टेपमा आवद्ध रहेका शिक्षालयको परिचय, त्यहाँ पठनपाठनका विषय, २ करोड बराबरको छात्रवृत्ति प्रदान, अतिरिक्त कृयाकलापका कार्यक्रमका बारेमा मेलामार्फत जानकारी गराउने आयोजकले जनाएको छ । सो कार्यक्रममा प्रत्यक्ष÷अप्रत्यक्ष गरि करिब १५० भन्दाबढी शिक्षालयको सहभागिता रहने र काठमाडौं उपत्यकाभित्रका ५ हजार विद्यार्थी सहभागिता हुने कार्यक्रम संयोजक कृष्ण गौतमले जानकारी दिए। यस्तै, अध्यक्ष मदनकुमार सुबेदीले संस्थाले विद्यार्थीहरूलाई केन्द्रमा राखेर काम गरिरहेको बताउँदै उक्त कार्यक्रमले विद्याथीहरूको ठूलो जिज्ञासा मेटाउने बताए।
कोशी प्रदेशका ८५ हजार पशुमा ‘लम्पीस्किन’ बेलबारी । कोशी प्रदेशका ८५ हजार पशुमा लम्पीस्किन सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये एक हजार एक सय पशु मरिसकेको उद्योग कृषि तथा सहकारी मन्त्रालयले जानकारी दिएको छ । मोरङको उत्तरी भेगका गाईभैँसीमा ‘लम्पीस्किन’ रोगको सङ्क्रमण बढ्दो छ । चरनका लागि जङ्गल जाने गाईभैँसीमा बढी मात्रामा सङ्क्रमण देखिएको बेलबारीका पशु विकास अधिकृत बाबुराम बस्नेतले बताए । बेलबारी–११ लक्ष्मीमार्गका चक्रप्रसाद न्यौपानेका गोठका पाँचवटै गाईबाच्छा लम्पीस्किन रोगबाट सङ्क्रमित छन् । सङ्क्रमितमध्ये एउटा बाच्छो मरिसकेको न्यौपानेले बताए । उनका जस्तै गाउँका धेरै गाईभैँसी सङ्क्रमित भएका छन् । पशु विकास अधिकृत बाबुराम बस्नेतका अनुसार बेलबारीमा मात्रै दुई सयभन्दा धेरै गाईगोरुमा लम्पीस्किन रोगको सङ्क्रमण देखिएको छ र केही भैँसीमा पनि लक्षण देखिएको बताए । पशुको छालामा अचानक नयाँ खालको सङ्क्रमण देखिनु, गिर्खा आउनु, घाउजस्तो भएर पिप बग्नु, उच्च ज्वरो आउनु लम्पीस्किन रोगका लक्षण भएको भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र मोरङका वरिष्ठ पशुसेवा अधिकृत डा अजय शाहको भनाइ छ । मोरङको १७ वटै पालिकामा सङ्क्रमण फैलिएको र जसमध्ये लेटाङका धेरै पशुमा रोगको सङ्क्रमण देखिएको उनले बताए । रोगी पशुको उपचार खोप मात्रै भएको भन्दै उनले हाल धेरै पालिकामार्फत खोप उपलब्ध गराउन थालिएको छ ।
माइतीघरमा आत्मदाह प्रयास गर्ने व्यक्ति मोरङका निरज कामत काठमाडौं। काठमाडौंको माइतीघर मण्डलमा एकव्यक्तिले आत्मदाह प्रयास गरेका छन्। माइतीघर मण्डलामा मोरङ कटहरीका निरजकुमार कामतले आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका हुन् । उनलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको छ । केही दिनयता भइरहेको नागरिकताविहीन संघर्ष समितिले माइतीघरमा निरन्तर प्रदर्शनमा उनी सहभागी हुँदै आएको बताइएको छ । सर्वोच्च अदालतले नागरिकता विधेयक कार्यान्वयनमा रोक लगाएपछि माइतीघर मण्डलामा समितिको नेतृत्वमा प्रदर्शनसहितका आन्दोलनका कार्यक्रम हुँदै आएको थियो। नागरिकताबिहीन संघंर्ष समितिले जन्मसिद्ध र एकल आमाका सन्तानलाई नागरिकता देउ, नक्कली राष्ट्रबाद चाहिँदैन लगाएतका नारा लगाउदै माइतिघरमा प्रदर्शन गरेका थिए । कामत नागरिकताविहीन संघर्ष समितिका केन्द्रीय उपाध्यक्ष समेत हुन्। राज्यले नागरिकताविहीन बनाएको भन्दै उनले आफैंलाई पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेपछि प्रहरी लगाएत अन्यले पानी खन्याएका थिए । त्यस लगतै बेहोस भएका कामदलाई उपचारका लागि अस्पताल लगिएको थियो । पेट्रोल खन्याएर आगो लगाएका कामतलाई तत्कालै उद्धार गरी ट्रमा सेन्टरमा लगिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए। उनको अवस्था खतरामुक्त रहेको छ।
माइतीघर मण्डलमा एक व्यक्तिले गरे आत्मदाह प्रयास काठमाडौं। काठमाडौंको माइतीघर मण्डलमा एकव्यक्तिले आत्मदाह प्रयास गरेका छन्। ती व्यक्तिले शरिरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए। उनका अनुसार ती व्यक्तिलाई प्रहरीले तत्कालै उद्धार गरी उपचारका लागि ट्रमा सेन्टरमा पठाएको छ। पेट्रोल खन्याएर आत्मदाह प्रयास गर्ने व्यक्तिले पूरा विवरण खुलिनसकेका उनले जनाए।
पशुपतिमा सुनको जलहरी लगाउँदा सुन गायव गरेको छैन भन्दै रोए मिलनकुमार थापा (भिडियो) काठमाडौं। पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव मिलनकुमार थापाले पशुपतिमा सुनको जलहरी लगाउदा सुन गायव गरेको भए आफु जस्तोसुकै कारवाही भोग्न पनि तयार रहेको बताएका छन्। सिंहदरबारमा मंगलबार बसेको राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा थापाले आफुलाई बिना आधारमा सुन हिनामिना गरेको आरोप लगाएको भन्दै सुन चोरी गरेको प्रमाणित भए जस्तोसुकै कारवाही भोग्न पनि तयार रहेको बताएका हुन्। संसदीय समितिमा निकै भाबुक भएर प्रस्तुत भएका सदस्य सचिव थापाले यस बिषयमा न्याय माग्न आत्म–हत्या गर्नुपर्ने हो भन्दै प्रश्न गरे । उनले राष्ट्र बैंकसंगको सम्झौता अनुसार १०३ केजी सुन ल्याएको र तत्कालिन प्रधानमन्त्री केपी ओली र तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीको निर्देशनमा छिटो काम गरेको तर्क गरे । पशुपतिमा सुनको जलहरी लगाउदा २४ घण्टा नेपाली सेना तैनाथी गरिएको उनले बताए । अदालतबाट सुनको जलहरी हाल्न हुदैन भनेर प्रदेश सांसद नरोतम बैद्यले स्टे अर्डर ल्याएको बेला ९६ किलो ८२२ ग्राम सुन तयार भएको र १० किलो सुन जलहरीका लागि तयारी नभएको हुँदा माइनुटमा मात्रै नलेखिएको र उक्त १० किलो पशुपतिनाथ मन्दिरमा नै रहेको उनले दावी गरे । उनले १० किलो सुनका कारण आफ्नो बेइज्जत भएको भन्दै सुन जोख्दा नपुगे मृत्युदण्ड भोग्न पनि तयार रहेको बताए। उनले यथार्थ नबुझि आफुलाई सुन चोर भनेर टिप्पणी गरेको गुनासो गरे । उनले यस प्रकरणमा आफु निकै पीडित भएको बताए। समितिले राष्ट्रिय गौरवको आयोजना पशुपति क्षेत्र विकास कोषको सम्पत्ती र यसको उपयोग सम्बन्धमा कोषका पदाधिकारीसंग छलफल गरेको थियो । हेनुहोस् भिडियो:
चिहानडाँडा नजिकै बोराभित्र महिलाको शव फेला दमौली। तनहुँको व्यास नगरपालिका–४ स्थित चिहानडाँडा नजिक बोराभित्र आज एउटा शव फेला परेको छ। उक्त वडाको चिहानडाँडा नजिकको नालामा बोराभित्र महिलाको शव सडिसकेको अवस्थामा फेला परेको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले मृत फेला परेको महिलाको पहिचान नखुलेको बताए। घटनास्थलमा प्रनाउ खाँणको नेतृत्वमा प्रहरी टोली पुगेर अनुसन्धान गरिरहेको छ। उनले भने, “प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ। अनुसन्धानपछि मात्रै सत्यतथ्य पत्ता लाग्छ।” व्यास नगरपालिका–४ का वडासदस्य सरोज भण्डारीका अनुसार महिलाको हात पछाडिपट्टि बाँधिएको अवस्थामा थियो। “शव सडिसकेको छ, अनुहार चिनिने अवस्था छैन,” प्रनाउ खाँडले भने। उक्त बाटो हिँड्डुल गर्ने स्थानीयवासीले गन्ध आएपछि प्रहरीलाई खबर गरेका थिए। – रासस
राष्ट्रपति पौडेल अस्पताल भर्ना काठमाडौं। स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति रामचन्द्र पौडेल बाँसबारीस्थित गंगालाल अस्पताल भर्ना भएका छन्। मुटुमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई गंगालाल अस्पताल लगिएको थियो। राष्ट्रपतिका स्वकीय सचिव चिरञ्जीवि अधिकारीले नियमित चेक जाँच गर्दा डाक्टरले १२ घण्टासम्म निगरानीमा बस्नुपर्ने बताएपछि अस्पतालमा भर्ना गरिएको बताए। मंगलबार विहान अस्पताल पुगेका राष्ट्रपति पौडेल आजै साँझ नभए भोलि विहानै डिस्चार्ज हुने जानकारी पाएको उनको भनाइ छ। केही समय अगाडि राष्ट्रपति पौडेल भारतको नयाँ दिल्लीमा उपचार गराएर फर्किएका थिए।
अस्थायी पुलबाट चिप्लिएर तिला नदीमा बेपत्ता भए १७ वर्षीय युवा जुम्ला।  जुम्लाको तिला गाउँपालिका-१ स्थित रारा बजारमा निर्मित अस्थायी पुलबाट चिप्लिएर एक युवा तिला नदीमा बेपत्ता भएका छन्। आज बिहान ६ बजेतिर सो गाउँपालिका-६ का अन्दाजी १७ वर्षका मोहन रोकाया उक्त अस्थायी पुलबाट चिप्लिएर तिला नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीले जानकारी दिए। बेपत्ता हुनेमा तिला-६ निवासी घोडे गाउँका कर्णबहादुर रोकाया उनका छोरा अन्दाजी १७ वर्षका मोहन रोकाया रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। तिला-१ रारासेरी बजारबाट चामलको बोरा लिएर घरजाने क्रममा अस्थायी पुलबाट चिप्लिएर नदीमा खसेको खबर प्राप्त भएपछि प्रहरी र स्थानीयले खोजी गरिरहेका छन्। तिला नदीको पानी धमिलो भएकाले खोज्न समस्या भएको तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले जानकारी दिए।
ट्याक्सीलाई वर्गीकरण गरिँदै, शुल्क पनि फरक, लक्जरी ट्याक्सी चढ्न दोब्बर शुल्क काठमाडौं। सरकारले ट्याक्सीका रुपमा प्रयोग हुने सवारी साधनलाई तीन भागमा वर्गीकरण गर्ने तयारी गरेको छ। यातायात व्यवस्था विभागले ट्याक्सीलाई वर्गीकरण गर्ने गरी ‘ट्याक्सीका रुपमा प्रयोग हुने सवारीसम्बन्धी मापदण्ड, २०८०’को मस्यौदा जारी गरेको हो। विभागले उक्त मस्यौदाका सम्बन्धमा आगामी असार ४ गतेभित्र वस्तुपरक सल्लाह, सुझाव तथा राय-परामर्श इमेल तथा फेसबुक पेजमार्फत पठाउन अनुरोध गरेको छ। मस्यौदा अनुसार अब ट्याक्सीलाई साधारण (अर्डिनरी), विशेष (डिलक्स) र विशिष्ट (लक्जरी) गरी तीन भागमा वर्गीकरण गरिनेछ । विभागले ट्याक्सीको आकार, यान्त्रिक क्षमता तथा उपलब्ध सुविधाका हिसाबले वर्गीकरण गर्ने तयारी गरिएको हो । अर्डिनरी ट्याक्सी न्यूनतम आठ सय सिसी क्षमता वा सोभन्दा माथिको इञ्जिन भएको र विद्युतीय सवारीको हकमा ब्याट्रीमा सञ्चित हुने उर्जा (किलोवाट आवर) र सवारीको कुल भार (केजी)बीचको न्यूनतम अनुपात शून्य दशमलव ०१२ हुनुपर्नेछ । यस्ता ट्याक्सीमा मनोरञ्जनका लागि कम्तीमा सवारीको अगाडि र पछाडि साउण्ड सिस्टम (स्पिकर)को सुविधा हुनुपर्नेछ । डिलक्स ट्याक्सी न्यूनतम एक हजार दुई सय सिसी क्षमता वा सोभन्दा माथिको इञ्जिन भएको र विद्युतीय सवारीको हकमा ब्याट्रीमा सञ्चित हुने उर्जा ९किलोवाट आवर० र सवारीको कुल भार ९केजी०बीचको न्यूनतम अनुपात शून्य दशमलव ०१९ हुनुपर्नेछ । यस्ता ट्याक्सीमा साउण्ड सिस्टम९स्पिकर०, टच स्क्रीनसहितको कम्तीमा एक वटा डिस्प्ले, विद्युतीय स्वीचबाट खुल्ने र बन्द हुने झयाल, स्वचालित वातानुकुलन प्रणाली, पछाडि रिडिङ ल्याम्पको सुविधा हुनुपर्ने मापदण्ड प्रस्ताव गरिएको छ । मस्यौदाअनुसार लक्जरी ट्याक्सीको हकमा न्यूनतम दुई हजार सिसी क्षमता वा सोभन्दा माथिको इञ्जिन भएको र विद्युतीय सवारीको हकमा ब्याट्रीमा सञ्चित हुने उर्जा (किलोवाट आवर) र सवारीको कुल भार (केजी)बीचको न्यूनतम अनुपात शून्य दशमलव ०२५ हुनुपर्नेछ । यस वर्गका ट्याक्सीमा मनोरञ्जनका लागि सवारीको अघिपछि साउण्ड सिस्टम (स्पिकर), सवारीको पछाडिको सिट पंक्तिका लागि कम्तीमा दुई वटा ‘टच स्क्रीन’सहितको डिस्प्ले, विद्युतीय स्वीचबाट खुल्ने र बन्द हुने झ्याल र हावाको गुणस्तर नियन्त्रणसहितको स्वचालित वातावरण नियन्त्रणको सुविधा हुनुपर्नेछ। साथै, वाइफाइ इन्टरनेटको सुविधा, ट्याक्सीको अगाडि र पछाडिका लागि ‘हेड रेष्ट’, ‘कप होल्डर’, ‘रिडिङ् ल्याम्प’,  ‘मोबाइल तथा विद्युतीय उपकरण चार्ज गर्न लागि डिसी वा एसी पावर आउटलेटलगायतका सुविधा उपलब्ध हुनुपर्नेछ । वर्गीकरण गरिएका ट्याक्सीले वर्ग खुल्ने गरी सवारी सङ्केत चिन्ह अनिर्वाय राख्नपर्नेछ । प्रत्येक ट्याक्सीले वर्ग खुल्ने गरी अगाडिको सिसाको चालकतर्फको माथिल्लो कुना, पछाडि पट्टिको दायाँ तथा बायाँ ढोकाको सिसामा र पछाडिको सिसाको दायाँ तर्फको कुनामा अर्डिनरीले ‘ओ’, डिलक्सले ‘डि’ र लक्जरीले ‘एल’ चिन्ह टाँस्नुपर्नेछ । साथै ट्याक्सीहरुले छतमा बत्ती राख्नुपर्नेछ । मस्यौदाअनुसार ट्याक्सी खाली हुँदा हरियो, सवारी खाली नहुँदा रातो र सवारी सेवामा नहुँदा ‘ह्वेन अफ ड्युटी’ बल्ने सेतो सङ्केत बत्ती बाल्नुपर्नेछ । साथै प्रत्येक ट्याक्सीले प्रिन्टरसहितको डिजिटल भाडा मिटर र डिस्प्लेसहितको जिपिएस नेभिगेसन प्रणाली पनि जडान गर्नुपर्नेछ । विभागले ट्याक्सीको वर्गीकरण अनुसार भाडा दर समेत प्रस्ताव गरेको छ । जसअनुसार अर्डिनरी वर्गको ट्याक्सीको हकमा हाल नेपाल सरकारले ट्याक्सीका लागि तोकेको भाडादर नै कायम हुनेछ भने डिलक्स ट्याक्सीको भाडादर अर्डिनरीको तुलनामा २० प्रतिशत बढी हुनेछ । साथै, विभागले लक्जरी ट्याक्सीका लागि अर्डिनरी ट्याक्सीको भाडादरभन्दा एक सय प्रतिशत अर्थात् दोब्बर भाडादर प्रस्ताव गरेको छ ।
जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ काठमाडौँ। काठमाडौं महानगरपालिका-११ बाट जुवातास खेलिरहेको अवस्थामा १३ जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरपालिका-११  भोटेवहाल शान्तिमार्ग बस्ने शेर बहादुर शेरचनको घरमा जुवातास खेलिरहेको अवस्थामा बाग्लुङ ढोरपाटन नगरपालिका-१ घर भई सोही महानगरपालिका-११ डेरा गरी बस्ने ५२ वर्षीय दिनेश शेरचनसहित १३ जनालाई प्रहरीले पक्राउ गरेको हो। विशेष सूचनाको आधारमा प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६७ हजार रूपैयाँ, १६ बुक तास, जुवा खेल्न प्रयोग भएको विभिन्न रंको कोईन १ सय १९ थान र जुवाको हिसाब राखेको कपीसहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
समायोजन हुन इच्छुक क्यापसलाई निवेदन पेस गर्न त्रिविको आग्रह काठमाडौँ। त्रिभुवन विश्वविधालयले समायोजन हुन इच्छुक क्यापसलाई निवेदन पेस गर्न आग्रह गरेको छ। सम्बन्धन प्रदत्त दुई वा दुईभन्दा बढी क्याम्पस पूर्णरुपले एक आपसमा गाभिई समायोजन हुन चाहेमा यही असार मसान्तसम्म योजना निर्देशनालयमा निवेदन पेस गर्न आग्रह गरेको हो। त्रिविले आज सूचना जारी गर्दै सम्बन्धित इच्छुक क्याम्पसलाई सामायोजन हुन चाहने क्यापसले आफ्नो क्यापससभा वा सञ्चालक समितिबाट समायोजन हुने निर्णय गराई तोकिएको समयभित्र निवेदन पेश गर्न सूचना जारी गरेको हो। निवेदन गर्दा दुवै क्याम्पसको बेग्लाबेग्लै निवदेन दिने, मर्ज गर्नुपर्ने औचित्य खुलेको र समाहित हुने क्याम्पस खारेज गर्ने समितिको निर्णय, सम्बन्धन पत्र, नवीकरण पत्र र अक्षयकोषको रसिदको प्रतिलिपि पेस गर्नुपर्ने सूचनामा उल्लेख गरेको छ।
चिनियाँ नागरिकको नेपाली बैंक खातामा करोड भन्दा धेरै रकम फेला काठमाडौं। एक चिनियाँ नागरिकको नेपाली बैंकको खातामा करोडमाथि रकम फेला परेको छ। अवैध विदेशी रकमसहित पक्राउ परेका चिनियाँ नागरिक फङ छेङवेनको बैक खातामा एक करोड २ लाख रकम फेला परेको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध मुद्रासहित उनी जेठ २२ मा पक्राउ परेका थिए। ५८ वर्षीय फङ छाङवेन बटिक एयरको फ्लाइट नम्बर ओडी १८१ को उडानमार्फत क्वालालम्पुर जान लागेका उनको साथबाट विभिन्न देशका मुद्रासहित प्रहरीले पक्राउ गरेको थियो। अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान ह्यान्ड बागेज चेकिङ गर्दा ९ लाख ८ हजार नेपाली रुपैयाँ, ४० लाख ५० हजार भियतनामिज दोङ, २ लाख ५० हजार लाओथियन किप, एक लाख १३ हजार ९५० थाइ भाट ५ हजार क्यानेडियन रियल, ७ हजार ८ सय ४० भारतीय रुपैयाँ, २ हजार अमेरिकन डलर, २४२ सिंगापुर डलर, ३५१ मलेसियन रिंगिट, २१ चिनियाँ युयान फेला परेको थियो। जुन रकम नेपालबाट विदेश लान अवैध मानिएको थियो। प्रहरीले लाखौं अवैध विदेशी मुद्रा बोकेर मलेसियाको राजधानी क्वालालम्पुर जान लागेको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेको उनलाई थप अनुसन्धानका लागि प्रहरीलाई जिम्मा लगाइएको थियो। एक चिनियाँ नागरिकको नेपालका बैंकमा करोडौं रकम रहेको पाइएको छ। पक्राउ परेका बखत उनको साथबाट सिटिजन्स बैकको नगद जम्मा गरेको भौचर समेत फेला पारेको थियो। सोही आधारमा प्रहरीले अनुसन्धान गर्दा सिटिजन्स बैंक नयाँबजार शाखामा खाता नं. ०११४१०००००६७००४१ मा विभिन्न मितिमा जम्मा गरेको १ करोड २ लाख सो रकम फेला परेको थियो। फ्रेबुअरी २२, २०२३ को ५० लाख रुपैयाँ, मे २२, २०२३ को ३७ लाख रुपैयाँ र मे ३०, २०२३ को १५ लाख रुपैयाँको मुद्दती रसिद बरामद भएको प्रहरी अनुसन्धानको क्रममा देखिएको छ। उनी अन्तरदेशीय अपराधमा संलग्न रहेको हुन सक्ने आशंकामा प्रहरीको विशेष ब्यूरोले समेत अनुसन्धान थालेको छ। विमानस्थल प्रहरीले उनलाई राजस्व अनुसन्धान विभाग पठाएको थियो। विभागले उनीविरुद्ध विदेशी मुद्रा अपचलन मुद्दामा अनुसन्धान गरिरहेको गरेपनि प्रहरी अनुसन्धानका क्रममा उनी तीन पटक नेपाल आएको र पैसाको स्रोत नखुलेको अवस्थामा प्रहरीको विशेष व्यूरोले अनुसन्धान शुरु गरेको हो। प्रहरीले अनुसन्धानको क्रममा सो रकमको स्रोत खोजेको भएपनि उनले केही बताउन चाहेका छैनन्।
देशभर तापक्रम बढ्दै, तराईमा पाँच दिनसम्म तातो हावा चल्ने काठमाडाैं। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशका तराई भू-भागमा आगामी पाँच दिनसम्म तातो हावा (लू)को सम्भावना रहेकाले सोबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ। तातो दिन तथा लूसम्बन्धी विशेष बुलेटिन निकालेर महाशाखाले अबका पाँच दिनसम्म आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको हो। ‘आगामी पाँच दिनसम्म देशभरको तापक्रमको अवस्था तथा विश्लेषणअनुसार तराईका धेरैजसो भू-भागमा अधिकतम र न्यूनतम तापक्रम क्रमिकरूपमा बढ्दै जाने देखिन्छ। तसर्थ, तराईका भू-भागमा तातो हावाबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध छ’, बुलेटिनमा भनिएको छ। लू चल्नका लागि लगातार पाँच दिनसमम सामान्यभन्दा ४० डिग्रीभन्दा माथि ताफत्रम बढेमा लू चलेको मानिन्छ। वर्षा नहुँदा सुक्खापन चलेकाले तापक्रम बढेर लू चलेको बताइएको छ। साथै पहाडी भू-भागका उपत्यका तथा खोंचहरूमा समेत तापक्रम क्रमिकरूपमा बढ्न सक्ने सम्भावना रहेकाले महाशाखाबाट जारी हुने सूचना तथा पूर्वानुमानमा अद्यावधिक रहन पनि महाशाखाले अनुरोध गरेको छ। महाशाखाका अनुसार विगत केही दिनदेखि देशका अधिकांश भू-भागको अधिकतम तथा न्यूनतम तापक्रम वृद्धि भइरहेको छ। काठमाडौं उपत्यकालगायत देशका अन्य उपत्यकामा समेत तापक्रममा क्रमिक वृद्धि भइरहेको र देशको तराई भू-भागमा, मुख्यतयाः मध्यतराई र आसपासमा अधिकतम तापक्रत्र ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन भएको छ। लूबाट हुने सम्भावित असर जस्तैः थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेसी दुख्ने, बान्ता आदि हुनसक्ने देखिएकाले सोबाट बच्न आग्रह गरिएको छ। लूबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने (घाममा हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित पानी तथा झोल पदार्थ जुससर्वत आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या आएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही सल्लाह-सुझाव लिन पनि महाशाखाले सुझाएको छ। हाल देशमा पश्चिवी वायुको साथै भारतको बिहारमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। अहिले कोशी, मधेस र बागमती प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही कोशी तथा बागमती प्रदेशका केही स्थान साथै मधेस र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज काठमाडौँको न्यूनतम तापक्रम १८ दशमलव आठ डिग्री र अधिकतम तापक्रम २९ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ।
तनहुँमा जग्गाको नापजाँच अगाडि बढ्यो दमाैली। भूमिहीन एवं अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरणका लागि तनहुँमा जग्गा नापजाँचको काम अगाडि बढेको छ। राष्ट्रिय भूमि आयोग तनहुँले भूमिहीन एवं अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरणका लागि जग्गा नापजाँचको काम अगाडि बढाएको हो। आयोगका विज्ञ सदस्य श्रीराम कार्कीका अनुसार शुक्लागण्डकी नगरपालिका-३, ८ र ९ मा जग्गाको नापजाँच भइरहेको छ। देवघाट गाउँपालिका-५ मा नापजाँच सकिए पनि केही छुटपुट भएकाले छुटपुट भएकालाई समेत समावेश गर्ने तयारी गरिएको उनले बताए। देवघाटकै वडा नं २ र ४ मा जग्गाको नापजाँच सुरु गर्ने तयारी गरिएको छ। सदस्य कार्कीका अनुसार आँबुखैरेनी गाउँपालिकाका छवटै वडामा जग्गाको नापजाँच काम सकिएको छ। व्यास नगरपालिकाका जग्गा नापजाँचका लागि छलफल अगाडि बढाइएको छ। जग्गा नापजाँचका लागि आवश्यक उपकरण खरिदका लागि नगरपालिकाले बोलपत्र आह्वान गरिसकेको उनले बताए। उनले भने, “प्राविधिक कम भएका कारण पनि जग्गा नापजाँचको कामले तीव्रता पाउन सकेको छैन। हामीसँग उपलब्ध प्राविधिकलाई नै मिलाएर सबै स्थानीय तहमा खटाउनुपर्ने अवस्था छ।” जग्गा नापजाँच सम्पन्न भएपछि फिल्ड ढड्डा उतारेर काम गर्दा प्रत्येक पालिकाका लागि एक महिना समय आवश्यक पर्छ। उनले भने, “जग्गा नापजाँच सुरु भएपछि धेरै काम अगाडि बढेको छ भन्ने महसुस सबैलाई हुन्छ। सोहीबमोजिम हामीले कामलाई अगाडि बढाइरहेका छौँ ।” सदस्य कार्कीका अनुसार असारभित्रै अथवा नभए दशैँ अगाडि कुनै न कुनै पालिकामा लालपुर्जा वितरण गर्ने लक्ष्य छ। यसैगरी भानु नगरपालिकामा पनि दशैँअघि सुकुम्बासी एवं अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरणको तयारीसहित नापजाँच कार्य सुरु भएको छ। वर्षौँदेखि लालपुर्जाविहीन रहँदै आएका स्थानीयवासीलाई लालपुर्जा दिने उद्देश्यसहित भानु नगरपालिकामा जग्गाको नापजाँच सुरु भएको छ। भानु नगरपालिका–१ स्थित नयाँबस्तीबाट जग्गाको नापजाँच कार्य सुरुआत गरिएको हो। भानु-१ मा पाँच सयभन्दा बढीलाई निस्सा वितरण गरिएको थियो। यो वडाबाट सुरु भएको जग्गा नापजाँच कार्य क्रमशः अन्य वडामा सुरु गरिने नापी कार्यालयका तनहुँका प्राविधिक एवं जग्गा नापजाँच कार्यका टोली प्रमुख राजीव श्रेष्ठले जानकारी दिए। भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले दशैँअगावै नापजाँच कार्य सकेर लालपुर्जा वितरण गरिने बताए। राष्ट्रिय भूमि आयोग तनहुँका अध्यक्ष रामचन्द्र अधिकारीले स्थानीय तहको समन्वयमा भूमिहीनलाई लालपुर्जा र अव्यवस्थित बसोबासीलाई व्यवस्थित बनाउने प्रक्रिया सुरु गरिएको बताए। भानु नगरपालिकामा जग्गाको नापजाँच सुरु भएपछि भूमिहीन खुसी भएका छन्। यसअघि निस्सा पाएका नयाँबस्तीका रामबहादुर परियारले अब लालपुर्जा पाइन्छ कि भन्ने आशा जागेको बताए। उनले भने, “प्रत्येक चुनावमा नेता आएर लालपुर्जा दिन्छौँ भन्नुहुन्छ, तर कहिल्यै पुर्जा पाइएन। अहिले नापजाँचको काम सुरु भएपछि त पक्कै पुर्जा पाइन्छ होला।” सोही ठाउँकी डिलकुमारी राना पनि जग्गा नापजाँच अगाडि बढेपछि हर्षित छिन्। लालपुर्जा नहुँदा सुकुम्बासी भएर बाँच्नुपरेको भन्दै उनले जग्गा नहुँदा धेरै समस्या आइपरेको उल्लेख गरिन्। जिल्लाका १० पालिकामा भूमिहीन दलित एक हजार एक सय आठ, भूमिहीन सुकुम्बासी एक हजार आठ सय ७२ र अव्यवस्थित बसोबासी २३ हजार एक सय ३७ गरी २६ हजार एक सय १७ जनाको निवेदन दर्ता भएको छ। रासस
आजको मौसमः पश्चिम तराईमा अत्याधिक गर्मी हुने, चार प्रदेशमा पानी पर्ने संभावना काठमाडौं। हाल देशमा पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको देखिन्छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश र बागमती प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा रहेको छ। कोशी तथा बागमती प्रदेशको केही स्थानहरू साथै मधेश र गण्डकी प्रदेशको एक दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र मधेश प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। राती भने कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै मधेश प्रदेश लगायत देशका बाँकी पहाडी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। देशका मध्य तथा पश्चिम तराईका भू-भागहरूमा अत्याधिक गर्मी हुने सम्भावना यथावत् देखिन्छ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा साथै मधेश प्रदेश लगायत देशका बाँकी पहाडी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। तसर्थ, अत्याधिक गर्मी, मेघगर्जन र चट्याङ तथा वर्षा बाट हुन सक्ने जोखिम वा क्षति बाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
काठमाडौं उपत्यकाका पहाडमा १९८ पोखरी निर्माण गरिने काठमाडौं। काठमाडौं उपत्यकामा बागमती र त्यसका सहायक नदी सफा बनाउनका लागि यहाँका पहाडमा १९८ वटा पोखरी बनाइने भएको छ । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले वर्षामा पानी हुने र हिउँदमा रिचार्ज भएर छाड्न पनि मिल्ने गरी पोखरी बनाउने योजना ल्याइएको समितिका सूचना अधिकारी कमल अर्यालले बताए । अहिले उपत्यकाका नदीमा वर्षामा बाढी पस्ने र हिउँदमा खोला पूर्णरुपमा सुख्खा हुने समस्या छ । नदी सफा हुनलाई प्रशोधन केन्द्र आवश्यक रहेको उनले बताए । उनले भने, “नदी पूर्णरुपमा सुख्खा हुँदा पानी प्रशोधन हुँदैन । जति पानी बढ्यो पानी प्रशोधित हुँदै जान्छ ।” गुहेश्वरीमाथि धापमा जस्तै बिभिन्न स्थानमा पार्क बनाइने समितिको भनाइ छ । पर्यटकीय हिसाबले महत्वपूर्ण हुने तथा हिउँदमा पानी रिचार्ज गरी वर्षामा बाढी नियन्त्रण हुने गरी धाप निर्माणको योजना रहेको उनले जानकारी दिए । बागमती करिडोरमा सन् २००९ देखि सन् २०१४ सम्मका लागि बागमती कार्ययोजना बनाइएको थियो । त्यसलाई अध्यावधि गरी सन् २०२३ देखि सन् २०४३ सम्मको कार्ययोजना बनाइएको छ । बागमती सफा गर्नका लागि ठोस मात्रै फोहर हटाएर नहुने सूचना अधिकारी अर्यालको भनाइ छ । ढल व्यवस्थापनका लागि सबै खोला किनारमा ढलको लाइन बिच्छाएर प्रशोधन गरिनुपर्ने उनको धारणा छ । बागमतीमा ढल निर्माण भएपनि त्यसमा मिसिने अरु खोलामा ढल निर्माण गरी त्यसलाई प्रशोधन केन्द्रमा लैजान आवश्यक रहेको उनले बताए । बागमतीका सहायक र शाखा नदी व्यवस्थित नहुँदासम्म बागमती सफा नहुने देखिएको छ । समितिले अहिले नदी किनारमा मात्रै ढलको काम गरिरहेको र त्यसभन्दा बाहेकमा अन्य निकायले काम गरिरहेको हँदा आपसी समन्वय हुनुपर्ने उनको भनाइ छ । समितिले बागमतीको उद्गमस्थल बागद्वारबाट ललितपुरको कटुवाल दहसम्म नदी सफाइ र करिडोर सडक निर्माण एकैसाथ अघि बढाएको छ । बागमती नदी सफा बनाउने उद्देश्यले समिति स्थापना भए पनि पछि यसको कार्यक्षेत्र बिस्तार भएर सफाइसँगै नदी आसपासमा पूर्वाधार निर्माणमा लागेको थियो । पशुपति क्षेत्रको वातावरण सुधारका लागि बिसं २०५१ चैत २८ गते यसको स्थापना भएको थियो । शुरुमा कार्यान्वयन र अनुगमन समितिका रुपमा स्थापना भएकामा २०६५ साल जेठमा यसलाई अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति नामकरण गरिएको थियो ।
प्युठान दुर्घटनामा ज्यान गुमाउने ८ जनाकै सनाखत दाङ । प्युठानको स्वर्गद्वारीबाट फर्किँदै गरेको जिप दुर्घटना हुँदा मृत्यु भएका ८ जनाकै सनाखत भएको छ । दुर्घटनामा ज्यान गुमाउनेमा गाडी चालक लमही–५ निवासी ४९ वर्षीय तारा कुमाल, गाडीमा सवार दाङ गढवा–५ बाँकी घर भई हाल नारायणपुरस्थित फर्निचर उद्योगमा काम गर्ने ४० वर्षीय गोविन्द शाह, उनकी श्रीमती ३२ वर्षीया राधा शाह, उनका ९ वर्षीय छोरा आदित्य शाह रहेका छन् । यस्तै, तुलसीपुर कोठरी घर भई नारायणपुरमा डेरा गरेर बस्ने ३४ वर्षीय सरिता शर्मा पोख्रेल, उनका दुई छोरा १४ वर्षीय छोरा विशाल पोख्रेल , ९ वर्षीय विकास पोख्रेल र घोराही उपमहानगरपालिका वडा नम्बर १५ तुलसीपुर चोकका ११ वर्षीय बालक शिशिर खनालले ज्यान गुमाएका छन् । प्युठानको भिंग्रीनजिकै लु १ च ६३४५ नम्वरको जिब आज दिउँसो भीरबाट खसेर आठ जनाले ज्यान गुमाएका थिए ।
अमेरिकी डलरसहित विमानस्थलबाट एक व्यक्ति पक्राउ काठमाडौं । लुकाएर विदेश लैजान लागेको अमेरिकी डलरसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाका प्रेम नोर्वु शेर्पा रहेका छन् । विमानस्थल सुरक्षा प्रहरी प्रमुख डीआइजी अर्जुन चन्दका अनुसार शेर्पाले थाइल्याण्ड जाने क्रममा ९ हजार ४ सय १३ अमेरिकी डलर बोकेका थिए । उनले झोलाको भित्री भागमा उक्त रकम लुकाएका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लुकाई छिपाई अवैध रुपमा लैजान लागेको डलरसहित दोलखा बिगु गाउँपालिका–७ का ३६ वर्षीय प्रेम नोर्बु शेर्पालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । शेर्पालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उक्त अमेरिकी डलर फेला पारेको प्रहरीले जनाएको छ । उनी दोलखामा पसल सञ्चालन गर्ने व्यापारी भएको अनुसन्धानमा खुलेको छ । थप अनुसनधानका लागि उनलाई बरामद विदेशी मुद्रासहित राजस्व अनुसन्धान विभाग हरिहरभवन ललितपुरमा पठाइएको छ ।
छ किलो चरेससहित त्रिभुवन विमानस्थलबाट जर्मनी नागरिक पक्राउ काठमाडौं। त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६ किलो आठ सय ६० ग्राम चरेससहित जर्मनी नागरिक ६३ वर्षीय पाउल वेस्र्टलाई आज प्रहरीले पक्राउ गरेको छ । टर्किस एयरको उडानद्वारा काठमाडौँबाट स्तानबुल हुँदै जर्मनी जान लागेका उनको दुईवटा लगेजलाई विमानस्थलको प्रस्थान होल्ड ब्यागेज एरियामा जाँच गर्ने क्रममा उक्त लागूपदार्थसहित फेला पारी उनलाई पक्राउ गरेको हो । उनलाई आवश्यक कारबाहीका लागि लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर काठमाडौँ पठाइएको छ । यसैबीच, आजै काठमाडौँ महानगरपालिका–९ स्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाटै लुकाई–छिपाई अवैध रुपमा लैजान लागेको नौ हजार चार सय १३ अमेरिकी डलरसहित दोलखा विगु गाउँपालिका–७ स्थायी वतन भएका ३६ वर्षीय प्रेम नोर्बु शेर्पालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौँबाट थाइल्यान्ड जान लागेका शेर्पालाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अन्तरराष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा लुकाई–छिपाई अवैध रुपमा बाहिरी मुलुकतर्फ लैजान लागेको अवस्थामा अमेरिकी डलरसहित फेला पारी पक्राउ गरिएको प्रहरी प्रवक्ता कुबेर कडायतले बताए । उनलाई बरामद विदेशी मुद्रासहित राजस्व अनुसन्धान विभाग हरिहरभवन ललितपुरमा पठाइएको छ।
प्यूठान दुर्घटनामा मृतक सात जनाको सनाखत, एक बालकको पहिचान खुलेन लुम्बिनी। प्यूठानको स्वर्गद्वारी मन्दिरको दर्शन गरेर फर्किँदै गर्दा आठजनाको ज्यान गएको छ । स्वर्गद्वारी दर्शन गरी फर्कने क्रममा लु१च ६३४५ नंको कार दुर्घटना हुँदा सो कारमा सवार यात्रीहरूको मृत्यु भएको हो । स्वर्गद्वारी नगरपालिका–४ भिङ्ग्री बजार नजिकै टाकुरा भन्ने स्थानमा आज अपराह्न २ः४५ बजे सो कार दुर्घटना भएको थियो । कार स्वर्गद्वारी–भिङ्ग्री सडक खण्डको टाकुरा भन्ने स्थानबाट झन्डै ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायव उपरीक्षक सुवास खड्काले जानकारी दिए । उनका अनुसार दुर्घटनामा मृत्यु भएकामध्ये सातजनाको सनाखत भएको र एकजनाको सनाखत हुन सकेको छैन । दुर्घटनामा मृत्यु भएकामध्ये दाङ जिल्ला तुल्सीपुर उपमहानगरपालिका–१५ कोठरी बस्ने ३५ वर्षीया सरिता शर्मा पोखरेल, निजको १४ वर्षीय छोरा विशाल पोख्रेल र ९ वर्षीय छोरा विकास पोख्रेल रहेका छन् । यस्तै, दाङ लमही नगरपालिका–७ गढवाका ४० वर्षीय गोविन्द शाह, उनकी श्रीमती ३० वर्षीया राधा नेपाली र उनका छोरा ९ वर्षीय आदित्य शाह रहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । कारका चालक दाङ लमही नगरपालिका–४ का ४९ वर्षीय ताराबहादुर कुमालको पनि सनाखत भएको र अन्यको एकजनाको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख खड्काले बताए
गोँगबुको होटलमा युवायुवती झुन्डिएको अवस्थामा मृत फेला काठमाडौं। काठमाडौं गोँगबुस्थित एक होटलमा युवायुवती मृत फेला परेका छन् । टोखा नगरपालिका–९ स्थित ग्रिन नेपाल होटलमा आज बिहान युवायुवती मृतावस्थामा फेला परेका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले टोखा नगरपालिका–९ स्थित ग्रिन नेपाल होटलको कोठाभित्रको बाथरुममा केटा र कोठाभित्र केटी झुन्डिएको अवस्थामा फेला परेको जानकारी दिए । मृत्यु हुनेमा गोरखा सहिद लखन गाउँपालिका–१ घर भएका दिनेश सार्की र तनहुँ व्यास नगरपालिका–१० दमौली घर भएकी मुस्कान वयक रहेको प्रवक्ता रिजालले बताए। बिहान होटलका कामदारले खाना खानका लागि बोलाउन जाँदा नबोलेपछि प्रहरीलाई खबर गरेर ढोका फुटाउँदा महिला कोठाभित्र र पुरुष बाथरुमभित्र चुकुल लगाएर झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
स्वर्गद्वारीबाट फर्केको कार दुर्घटना हुँदा ८ जनाको मृत्यु काठमाडौं। प्युठानमा स्वर्गद्वारी दर्शन गरेर फर्केका तीर्थयात्री चढेको कार दुर्घटनामा परेको छ। स्वर्गद्वारी दर्शन गरी फर्किएको लु १ च ६३४५ नम्बर को कार स्वर्गद्वारी नगरपालिका ४ भिंग्री नजिकै भीरबाट तल खसेर दुर्घटना भएको हो। दुर्घटनामा परी आठ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका एक प्रहरी जवानले जानकारी दिए। उनका अनुसार शव अस्पताल लग्ने तयारी भइरहेको छ । कारमा दुई पुरुष, दुई महिला र चार बालबालिका गरी आठ जना सवार थिए। हालसम्म मृतकको पहिचान खुलेको छैन् । घटनाको थप विवरण आउन बाँकी छ ।
निजामती कर्मचारीले कार्यालय पोसाकमा टिकटक बनाए कारबाही हुने काठमाडौँ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीले कार्यालय समयमा टिकटक बनाए कारबाही गर्ने भएको छ। मन्त्रालयले एक सूचना प्रकाशित गरी कार्यालय समयमा टिकटक नबनाउन निर्देशनसमेत दिएको छ। कार्यालय समयमा कार्यालयको पोसाक लगाएर, कार्यालयको सवारीसाधन प्रयोग गरेर र कार्यालय हाताभित्र टिकटक बनाउन रोक लगाइएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता कमलप्रसाद भट्टराईले बताए। उनले भने, “कार्यालयसँग सम्बन्धित कामबारे पनि टिकटक नबनाउन हामीले निर्देशन दिएका छौँ, यदि निजामती कर्मचारीले यस्ता नियम उल्लंघन गरेको पाइएमा अनुशासन नियमअन्तर्गत कारबाही हुनेछ।” पछिल्लो समय टिकटकमा निजामती कर्मचारी उच्छृङ्खल भएको भन्दै गुनासो आएकाले उक्त कदम चालिएको मन्त्रालयले जनाएको छ।
त्रिभुवन विमानस्थलबाट ६ किलोभन्दा बढी लागुऔषध चरेसहित जर्मन नागरिक पक्राउ काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलोभन्दा बढी लागुऔैषध चरेससहित एक जर्मन नागरिक पक्राउ परेका छन्। सोमबार टर्किस एयरलाइन्सबाट इस्तनाबुल हुँदै सुत्तगार्ट जान लागेका ६३ वर्षीय जर्मन नागरिक पल रिस्टलाई विमानस्थलमा खटिएका प्रहरीले विमानस्थलबाटै नियन्त्रणमा लिएको हो। सुटकेसमा कार्बन पेपरले बेरेर चरेस लुकाएका थिए। विमानस्थल प्रहरीले जाँच गर्ने क्रममा उनको सुटकेसमा कार्बन पेपरले बेरेर चरेस लुकाएको पत्ता लागेको हो। यसपछि चरेससहित उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। विमानस्थल प्रहरीले पक्राउ परेका ती जर्मन नागरिकतालाई लागुऔषध नियन्त्रण व्युरोको जिम्मा लगाएको छ।
अप्राकृतिक मैथुन कसुरमा १२ वर्ष कैद गलकोट। आठ वर्षीय एक बालकलाई अप्राकृतिक मैथुन गरेको अभियोगमा बागलुङको बडिगाड गाउँपालिका–७ का १९ वर्षीय इमानसिंह रानालाई १२ वर्ष छ महिना कैद भुक्तान गर्न जिल्ला अदालतले आदेश दिएको छ। अप्राकृतिक मैथुन गरेको पुष्टी गर्दै जिल्ला न्यायाधीश दिवाकर भट्टको इजलासले सो कैदसँगै रु ४० हजार जरिवानासमेत भराउन आदेश दिएको अदालत इजालाश अधिकृत गङ्गाधर सापकोटाले जानकारी दिए। निज रानाले २०७९ साउन २० गते अप्राकृतिक मैथुन गरेको अभियोगमा पीडित बालकका अभिभावकले साउन २२ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएका थिए। प्रहरीले सोही दिन उनलाई आफ्नै घरबाट गिरफ्तार गरेर भदौ १३ गते उक्त अदालत बागलुङमा मुद्दा दर्ता गरेको थियो।
आजियाटा र एनसेलद्वारा आईसीएसआईडीको मध्यस्थतासम्बन्धी निर्णय प्राप्त गरेको पुष्टि काठमाडौँ। आजियाटा इन्भेस्टमेन्टस् (यूके) लिमिटेड (“आजियाटा यूके”) र एनसेल आजियाटा लिमिटेड (“एनसेल”) ले ग्रेट ब्रिटेन र उत्तरी आयरल्याण्डको संयुक्त अधिराज्य र नेपाल सरकारबीच फाल्गुन १९, २०४९ (“बीआईटी मध्यस्थता”) मा भएको द्विपक्षीय लगानी प्रवद्र्घन र संरक्षण सम्झौता अनुसार आफ्नो दाबीहरु राख्दै संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल (“नेपाल”) को विरुद्ध आजियाटा यूकेले सन् २०१६ मा एनसेलको ८० प्रतिशत शेयर अप्रत्यक्ष रुपमा अधिग्रहण (“कारोबार”) गर्दा नेपालले लगाएको पुँजीगत लाभकर सम्बन्धमा मध्यस्थता गरिदिन दिएको निवेदनका सम्बन्धमा इन्टरनेसनल सेन्टर फर दी सेटलमेन्ट अफ इन्भेस्टमेन्ट डिस्प्युट (“आईसीएसआईडी”) ले आफ्नो मध्यस्थता कारबाही (मुद्दा नम्बर एआरबी/१९/१५) सम्बन्धी निर्णय दिएको आजियाटा ग्रुप बरहाद (“आजियाटा”) पुष्टि गर्दछ। आईसीएसआईडी कम्भेन्सनको धारा ३७(२)(बी) अनुसार गठन भएको न्यायाधिकरणले जेठ २६, २०८० मा आजियाटा यूके र एनसेलले गरेको दाबी खारेज गर्दै आफ्नो निर्णय दिएको हो। न्यायाधिकरणले आफ्नो निर्णयमा अब नेपालले यस कारोबारसँग सम्बन्धित कुनै पनि कर, दस्तुर, जरिवाना वा ब्याज माग गर्न नपाउने संकेत गरेको छ। मध्यस्थता प्रक्रियाको प्रारम्भिक चरणमा नेपालले न्यायाधिकरणको आदेशको पालना नगरेको कारणले गर्दा आजियाटा युके र एनसेललाई निश्चित रकम भुक्तानी गर्न पनि नेपाललाई आदेश दिइएको छ। यस्तो रकममा आजियाटालाई र एनसेलले लिएको ऋण फिर्ता गर्ने समेत गरि करिब १४ लाख अमेरिकी डलर रहेको छ। यो निर्णय अनुसार अब आजियाटा यूके र एनसेलले कुनै रकम तिर्न बाँकी रहेको छैन। आजियाटा न्यायाधिकरणको निर्णयलाई सम्मान गर्दछ र निर्णयका सम्बन्धमा आफ्ना कानुनी सल्लाहकारहरूसँग परामर्श गरिरहेको छ । यस विषयमा अद्यावधिक जानकारीहरु पछि घोषणा गरिनेछन्। आजियाटा आईसीएसआईडी र प्रक्रियामा संलग्न सबै सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्दछ र नेपाल सरकारसँग सदा झै रचनात्मक रुपमा संलग्न रहनेछ। आजियाटा र एनसेलले नेपालको आर्थिक सामाजिक विकासका लागि उलेख्ख योगदानहरु पुर्याएको छ। देशको एक ठूलो करदाताका रुपमा एनसेलले स्थापना देखि गत आर्थिक वर्ष २०७८/७९ सम्ममा कर तथा विविध शुल्कहरु बापत रु २ खर्ब ८३ अर्ब योगदान गरेको छ। एनसेलले प्रत्यक्ष र अप्रत्यक्ष गरि २५ हजार भन्दा बढिलाई रोजगारी प्रदान गरेको छ र १ करोड ६० लाख भन्दा बढि ग्राहकलाई आफ्नो नेटवर्कमार्फत जोडेको छ। आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत एनसेलले राष्ट्रका लागि महत्वपूर्ण भनेर पहिचान गरिएका क्षेत्रहरु शिक्षा, स्वास्थ्य, र वातावरणका विभिन्न आयोजनाहरुमा १ अर्ब ७५ करोड भन्दा बढि लगानी गरिसकेको छ। एनसेल आफ्ना ग्राहक र नेपाली जनतालाई सेवा दिन पूर्ण रूपमा प्रतिबद्ध छ।
‘डेल्टा’ ब्रान्डको टायर उत्पादन गर्दै ग्रिन टायर काठमाडौँ। नेपाली टायर उत्पादक कम्पनी ग्रिन टायरले टीभीएस एन्टर्क स्कुटरका लागि आवश्यक ‘डेल्टा’ ब्रान्डको टायर उत्पादन गरेको छ। १००–८०–१२ ड्यास र ११०–८०–१२ ड्यास साइजको सो टायर उच्च गुणस्तरीय र किफायती भएको कम्पनीको भनाइ छ।प्राविधिक रुपमा नेपाली सडक सुहाउदो तरिकाले डिजाइन गरिएको सो टायर सुख्खा र चिसो सडकका साथै अफरोडमा समेत सहजतरिकाले प्रयोग गर्न सकिन्छ। रोलिङ प्रतिरोधी क्षमता घटाइएका कारण सो टायरले इन्धनखपतमाकमील्याउनपनि सहयोग गर्छ। ‘अहिले बिक्री पछिको सेवाका लागि आवश्यक टायरको रुपमा यो टायर प्रयोग गर्न सकिन्छ।’ ग्रिन टायरका प्रबन्धक विकास सिंघानियाले भने, ‘नेपाली बजारमा टीभीएस एन्टर्क स्कुटरका प्रयोगकर्ता बढ्दै गएका कारण सो स्कुटरको टायर उत्पादनमा ग्रिन टायरले विशेष ध्यान केन्द्रीत गरेको हो।’ ग्रिन टायरले यो भन्दापहिले ट्रयाक्टरमा प्रयोग गर्न सकिने शेर्पा ब्रान्डको सारथी टायर समेत उत्पादन गरि सकेको छ। करिब पाँच/पाँच वर्ष पहिले मोरङको कटहरीमा स्थापना भएको ग्रिन टायर प्रालिले डेल्टा र शेर्पा ब्रान्डका टु ह्विलर, थ्रीह्विलर तथा एग्रिकल्चर सेगमेन्टका टायरहरु उत्पादन गर्छ। हाल कम्पनीले प्रतिवर्ष २ लाख ५० हजार थान टायर उत्पादन गरि रहेको छ। ग्रिन टायरमा कुल १२० जना कामदार कार्यरत छन्।
पुनः दृष्टि फर्किदा … काठमाडाैं।नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पतालले सुदूरपश्चिका विभिन्न स्थानीय तहसँगको सहकार्यमा निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ। ती दुई निकायले डोटीको दुई र अछाम जिल्लाका एक स्थानीय तहमा आँखा शिविर सञ्चालन गरेको हो। ती आँखा शिविरमार्फत एक हजार एक सय ४१ बिरामीको निःशुल्क आँखा परीक्षण गरी १८८ जनाको मोतियाविन्दुको निःशुल्क शल्यक्रियासमेत गरिएको संघले जनाएको छ। पहुुँच र पैसाको अभावमा कोही पनि नागरिक दृष्टिविहीन भएर बस्न नपरोस् भन्ने ध्येयले सङ्घले देशका विभिन्न क्षेत्रमा निःशुल्क आँखा शिविर सञ्चालन गर्दैै आइरहेको छ। सो अस्पतालको नेत्र अधिकृत नरेन्द्रराज विष्टले यही जेठ १५ र १६ मा गते डोटीको सायल गाउँपालिकामा सम्पन्न आँखा शिविरमा तीन सय ५१ जनाको निःशुल्क आँखा परीक्षण गरी मोतियाविन्दु देखिएका ७३ बिरामीको निःशुल्क शल्यक्रियासमेत गरिएको जानकारी दिए। त्यस्तै डोटीकै बोगटान फुटसिल गाँउपालिकामा जेठ २१ र २२ मा सम्पन्न शिविरमा तीन सय ९३ जनाको आँखा परीक्षण गरी ६० जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको उनले बताए। त्यसैगरी यही जेठ १८ र १९ गते अछामको मेल्लेख गाउँपालिकामा सम्पन्न शिविरमा तीन सय ९७ जनाको निःशुल्क आँखा जाँच गरी मोतियाविन्दु देखिएका ५५ जना बिरामीको निःशुल्क शल्यक्रियासमेत गरिएको थियो। अस्पतालका बाह्य कार्यक्रम व्यवस्थापक रमेशचन्द्र भट्टले ती आँखा शिविरमा न्यूनदृष्टि देखिएका चार सय ५२ बिरामीलाई निःशुल्क चस्मासमेत वितरण गरिएको जानकारी दिए। अस्पतालका प्रमुख मेडिकल डाइरेक्टर एवं वरिष्ठ नेत्र विशेषज्ञ डा सुरेशराज पन्त, डा लिनु रायमाझीलगायत १४ प्राविधिकको टोलीले शिविरमा सेवा प्रदान गरेका थिए। आर्थिक तथा पहुँचको अभावका कारण दुवै आँखाको दृष्टि गुमाएर लामो समयदेखि कष्टकर जीवन निर्वाह गरिरहेका आँखाका बिरामीले आफ्नै घरआँगनमा निःशुल्क शल्यक्रियापछि पुनः दृष्टि पाउँदा हर्षित देखिएका थिए। संघअन्तर्गत सञ्चालित गेटा आँखा अस्पतालले सुदूरपश्चिमा थप तीन ‘सेकेन्डरी लेभल’का आँखा अस्पताल, दुई ‘सर्जिकल सेन्टर’ तथा १७ आँखा उपचार केन्द्रमार्फत यस क्षेत्रका नागरिकलाई सुलभ मूल्यमा गुणस्तरीय आँखा उपचार सेवा प्रवाह गर्दै आइरहेको छ। अस्पतालको सेवा सुलभ र गुणस्तरीयसमेत भएकाले छिमेकी देश भारतका नागरिकसमेत आँखा उपचारका लागि गेटा आँखा अस्पतालमा आउने जनाइएको छ। अस्पतालले हरेक वर्ष विभिन्न सरकारी तथा गैरसरकारी सामाजिक संस्थासँगको सहकार्यमा प्रदेशका नौवटै जिल्लाका ग्रामीण क्षेत्रसम्म आँखा उपचार सेवाको पहुँच बढाउन वर्षमा ६० भन्दा बढी स्थानमा आँखा शिविर सञ्चालन गरी निःशुल्क सेवा प्रदान गर्दै आइरहेको छ। रासस
आजको मौसम: पूर्वी तराईमा वर्षाकाे सम्भावना, मध्य तथा पश्चिम तराईमा अत्याधिक गर्मी हुने काठमाडौं। हाल देशमा पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको देखिन्छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ। कोशी तथा बागमती प्रदेशको पहाडी भू-भागका एकदुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। दिउँसो कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र मधेश प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। राति भने कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै मधेश प्रदेश लगायत देशका बाँकी पहाडी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। मध्य तथा पश्चिम तराईका भू-भागहरूमा अत्यधिक गर्मी हुने देखिन्छ। साथै कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूका साथै मधेश प्रदेश लगायत देशका बाँकी पहाडी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। तसर्थ, अत्याधिक गर्मी, मेघगर्जन र चट्याङ तथा वर्षा बाट हुन सक्ने जोखिम वा क्षति बाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुराेध गरेकाे छ।
विपद्मा पूर्वतयारी पहिलो सर्त हो, मन्त्रालयले आवश्यक परिपत्र गरिसक्योः स्वास्थ्यमन्त्री बस्नेत काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले विपद् व्यवस्थापनमा पूर्वतयारी पहिलो सर्त हुनुपर्ने र पूर्वतयारीका गतिविधि चुस्त हुने सके धेरै विपद्जन्य घटना रोक्न सकिने बताएका छन्। उनले राहतमा पनि पूर्वतयारी प्रभावकारी हुँदा यसबाट क्षति कम गर्न र उद्धार गर्न पनि सहज हुने प्रतिक्रिया दिए। आज विपद् व्यवस्थापनसम्बन्धी सिंहदरबारमा भएको कार्यक्रममा उनले विपद्का समयमा उद्धार सामग्रीको अभाव हुने गरेको विगतको अनुभवन सुनाउँदै त्यस विषयमा बेलैमा सजग हुनुपर्नेमा जोड दिए । उनले भने, “यस विषयमा गम्भीरताका साथ लागौँ, आपत्विपत्मा महामारी रोगव्याधि, विमार, सरुवा रोग लाग्नसक्छ, त्यसमा सबै तयारीमा जुट्नुपर्छ ।” उनले स्वास्थ्य मन्त्रालयले आवश्यक तयारी गर्न थालिसकेको र मातहतका निकायलाई निर्देशन पनि दिइसकेको जानकारी दिए। कोभिडका समयमा नेपाललाई तर्साइसकेको स्मरण गर्दै मन्त्री बस्नेतले सावधानी अपनाउन सक्यो भने त्यो देशले कम क्षति बेहोर्छ भन्ने कुरा कोभिडकै बेलामा देखिएको पनि उनले बताए। विपद्का बेलामा तत्कालै ढुवानी गर्न नसक्ने सामग्री तथा वस्तुको समयमै उचित ठाउँमा व्यवस्थापन गर्न जरुरी रहेको पनि उनले औँल्याए। उनले न्यूनतम आवश्यकताका सामानमा ध्यान दिनुपर्नेमा जोड दिँदै स्वास्थ्य मन्त्रालयले त्यसमा अभियान सुरु गरिसकेको र जिल्लाहरूमा परिपत्र पनि गरिसकेको जानकारी दिए।
‘हरहर महादेव पानी देऊदेऊ’ चितवन। लामो समयदेखि खडेरी परेपछि नारायणगढका युवाहरूले ‘हरहर महादेव पानी देऊदेऊ’ भन्दै बजार परिक्रममा गरेका छन् । उनीहरू गौरेश्वर पशुपति मन्दिर नारायणगढमा पूजाआजासहित बजार परिक्रममा गरेका हुन् । कार्यक्रमका संयोजक मनोज घिमिरेका अनुसार मन्दिरमा पूजा गरेर बाजागाजासहित नारायणगढ बजार परिक्रममा गरिएको हो । लामो समयदेखि पानी नपर्दा जनजीवन प्रभावित बन्दै गएपछि यो कार्यक्रम आयोजना गरिएको उनले बताए । हरहर महादेवको पूजा गरेपछि पानी पर्ने विश्वासका साथ पूजा गरी बाजागाजासहित बजार परिक्रममा गरिएको हो । युवाहरूको समूहले बजारको परिक्रममा गरी पुनः मन्दिरमा पुगेर समापन भएको थियो । स्थानीयवासीले आआफ्नो घरबाट पानीले स्वागत गरेका थिए । सो क्रममा ‘हरहर महादेव पानी देऊदेऊ, यतिले पुगेन अझै थपिदेऊ’ जस्ता श्लोकहरू गाइएको थियो । लामो समयसम्म पानी नपर्दा जिल्लामा लगाइएका मकै तथा तरकारी बाली सुकेका छन् । यो सँगै जिल्लाको विभिन्न स्थानमा इन्द्र भगवान्को पूजा गरिनुका साथै भ्यागुताको बिहेसमेत गरिएको छ । पानी माग्न भ्यागुताको बिहे वालिङः असार लाग्न थाल्यो किसानहरू मानो खाएर मुरी उब्जाउने कार्यका लागि खेतबारीमा हुने बेला हो । खेतमा धान रोप्न र बारीमा कोदो रोप्न बीउ राख्ने बेलामा लामो समय खडेरी परेको छ । केही किसानले धान तथा कोदोको बीउ राखिसकेका छन् । केहीले पानीकै अभावका कारण अझै पनि राख्न सकिरहेका छैनन् । खडेरीका कारण बीउसमेत राख्न नपाएका किसान चिन्तित त छँदैछन् । बीउ राखिसकेका किसान पनि बीउ जोगाउन चिन्तित देखिन्छन् । केही दिनयता तापक्रम बढ्दै जाँदा मकैका बोटहरू सुक्दै गएका छन् । किसानले व्यावसायिक तथा घरमै प्रयोग गर्न लगाएका तरकारी तथा अन्य बालीहरू सुक्दै गएका छन् । लामो समय पानी नपरेपछि पुर्खाहरूले गर्दै आएको भ्यागुताको बिहे गरी इन्द्रदेवसँग पानी माग गरिएको बेहुली पक्ष वालिङ–६ भरुवाका नारायणप्रसाद भण्डारीले बताए। वालिङ–८ को ब्याङतुङबाट बेहुला पक्ष जन्तीसहित भरुवा पुगेर विधिपूर्वक भ्यागुताको बिहे गरिएको हो । “पहिले पहिले लामो समयसम्म खडेरी पर्दा पुर्खाहरूले भ्यागुताको बिहे गर्थे”, उनले भने, “चार वर्षअघि पनि यस्तै खडेरीमा भ्यागुताको बिहे गरेका थियौँ, उक्त दिन पानी आएको पनि थियो, यसपटक आकाश त गर्जियो तर पानी परेन ।” रूढीवादी परम्पराजस्तो देखिने भ्यागुताको बिहे पूरै विश्वास गर्न पनि नसकिने र कहीँकतै विश्वास पनि अडिएको आफूलाई लाग्ने गरेको उनी बताउँछन्। ब्याङतुङबाट भ्यागुतालाई डोलीमा राखेर जन्तीसहित बेहुली लिन गएको बेहुला पक्षका गोपालधन सुवेदीले बताए। स्थानीयवासीको उपस्थितिमा विधिपूर्वक पूजापाठ गरी भ्यागुताको बिहे गरिएको सुवेदीले बताए। भ्यागुताको विवाह मौसमसँग सम्बन्धित रहेको विश्वास रही आएको छ । भ्यागुता वर्षाको समयमा बाहिर निस्कने भएकाले दुई भ्यागुतको विवाहलाई प्रतीकका रूपमा मान्ने गरिएको छ । भ्यागुता÷भ्यागुताबीच सम्बन्ध भएपछि वर्षा हुन्छ भन्ने विश्वास रही आएकाले यसैका आधारमा यहाँका स्थानीयवासीले पानीको आशमा भ्यागुताको बिहे गराएका हुन् । भ्यागुताको बिहे गरेमा इन्द्रदेव खुसी भई पानी दिने विश्वास पनि रही आएको छ । लामो समय खडेरी हुँदा तापक्रम बढ्दै गएको छ । तापक्रम बढेकै कारण जनजीवनसमेत प्रभावित भएको छ । दैनिकी तथा स्वास्थ्यसम्बन्धी समस्याहरू देखिन थालेका छन् ।
निजामती कर्मचारी सङ्गठनले ‘नमस्कार अभियान’ सञ्चालन गर्ने काठमाडौं। नेपाल निजामती कर्मचारी सङ्गठनले क्षतिपूर्तिसहितको नागरिक सेवा प्रवाहको सुनिश्चितता गराउँदै सेवाग्राहीसँग ‘नमस्कार अभियान’ सञ्चालन गर्ने भएको छ । सो सङ्गठनले हरेक सरकारी कार्यालयमा सेवाग्राहीलाई शिष्टाचारका रुपमा ‘नमस्कार अभियान’ र जनताको तीव्र विकासको चाहनाअनुरुप ‘शीघ्र सेवा–तीव्र विकास’ को नीतिलाई आफूहरु कार्यरत कार्यालयमा कार्यान्वयन गराउने भएको हो । यही जेठ २७ र २८ गते काठमाडौँमा आयोजित सङ्गठनको दोस्रो राष्ट्रिय महिला भेलाले सो नीतिको कार्यान्वयन गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेको छ । भेलाका निष्कर्षहरु सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष लेखनाथ कोइरालाले सरकारले नै क्षतिपूर्तिसहितको नागरिक सेवा प्रवाहको सुनिश्चितताका लागि नीति ल्याउनुपर्ने धारणा राख्दै कुनै कर्मचारीका कारण कुनै सेवाग्राहीलाई क्षति हुन गएमा सम्बन्धित कार्यालय वा कर्मचारीबाट क्षतिपूर्ति भराउने व्यवस्था गर्न माग गरे। ‘समता र सशक्तिकरणः सेवामा सबलीकरण’ भन्ने मूल नाराका साथ गरिएको सो भेलाले नेपालको संविधान र कानुनले व्यवस्था गरेका महिला अधिकारको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकार र सम्बन्धित निकायसँग माग गरेको छ । देशभरका करिब सात सय महिला प्रतिनिधि सहभागी भेलाले लिङ्गका आधारमा कसैलाई पनि विभेद नगर्न, अध्ययन, भ्रमण र तालिममा महिला कर्मचारीलाई प्राथमिकता दिन र महिला कर्मचारीलाई सम्भव भएसम्म पायक पर्ने स्थानमा सेवा गर्ने अवसर दिन माग गरेको छ । यस्तै, कार्यास्थलमा हुने लैङ्गिक विभेदलगायत महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्य, सबै सरकारी कार्यालयमा स्तनपान कक्षको व्यवस्था र मासिक स्राव हुँदाका समयमा न्यूनतम तीन दिनको व्यवस्था गर्न पनि माग गरिएको छ । हाल मुलुकभर एक लाख २५ हजार निजामती कर्मचारी रहेकामा सो सङ्गठनमा ४० हजार सदस्य रहेकामा १५ हजार महिला सदस्य रहका छन् । भेलाबाट महिलाको पेसागत व्यावसायिकता विकास गर्न सेवामा रहेका महिला कर्मचारीसँग नवप्रवेशी महिला कर्मचारीलाई आबद्ध गराई महिला कर्मचारीको उत्थानका लागि लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ । भेलामा सङ्गठनको केन्द्रीय महिला विभागका तर्फबाट उपमहासचिव एवम् महिला विभाग प्रमुख विजयालक्ष्मी सुवेदीले प्रस्तुत गरेको प्रतिवेदमाथि समूहगत छलफल गराइएको थियो । सो भेलाको उद्घाटन शनिबार नेकपा (एमाले्र का अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए।
इसेवा मार्फत नेपाल टेलिकमको रिचार्ज गर्दा कोमाकी स्कुटर जित्न सकिने काठमाडौं। नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले नेपाल टेलिकमको रिचार्ज गर्दा इलेक्ट्रिक स्कुटर जित्न सकिने अफर ल्याएको छ । यस अभियानमा सहभागि हुन एनटीसी प्रिपेड, एनटीसी पोस्टपेड र एनटीसी डाटाप्याक एप वा इसेवाको वेबसाइट मार्फत रिचार्ज गनुपर्नेछ । यो अभियान अवधि असार १५ सम्म लागिको लागि सञ्चालन हुने कम्पनीले जनाएको छ । यो अभियान अवधिभर प्रोमोकोडहरू प्रयोग गरेर १० प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्न सकिनेछ । क्यासब्याक आफूले रिचार्ज २४ घण्टा भित्र इसेवा वालेटमा जम्मा हुनेछ । कोमाकी फ्लोरा एक इलेक्ट्रिक स्कुटर हो, जसले प्रति चार्ज ७५–१०० किलोमिटरको माइलेज दिनुको साथै सहज र रमाइलो सवारी अनुभव सुनिश्चित गराउन शक्तिशाली ३००० वाट मोटरको जडान गरिएको छ । यस इलेक्ट्रिक स्कुटरमा ट्युबलेस टायर र डिस्क ब्रेककोका साथै अन्य विशेषता रहेका छन् । यो अभियान अवधि असार १५ सम्म लागिको लागि सञ्चालन हुनेछ । हाल इसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोबाइल मार्फत करिब ८० लाख ग्राहकले सेवा लिइरहेका छन् । यसैभरी देशभर रहेका २ लाख भन्दा बढि एजेन्ट मार्फत अप्रत्यक्ष रुपमा डेढ करोड भन्दा जनसंख्याले सेवा लिइरहेका छन् ।
नेपालमा बाल हेल्पलाइन स्थापनाको २५ वर्ष पूरा काठमाडौं। नेपालमा सिविन नेपालद्वारा सञ्चालित बाल हेल्पलाइन (१०९८) स्थापनाको २५ वर्ष पुगेको छ । यो अवधिमा हेल्पलाइनको माध्यमबाट सम्पर्कमा आएका २५ हजारभन्दा धेरै समस्याग्रस्त बालबालिकाको उद्धार गरिएको सिविन नेपालकी कार्यकारी निर्देशक सुम्निमा तुलाधारले जानकारी दिए। हेल्पलाइन स्थापनाको २५ वर्ष पुगेका अवसरमा आज काठमाडौंमा आयोजित एक कार्यक्रममा तुलाधरले यो अवधिमा ६ लाखभन्दा धेरै बालिबालिकाले हेल्पलाइनमा सम्पर्क गरेको बताए । उनले नेपालमा भूकम्प गएको वर्ष २०७२ मा सबैभन्दा धेरै एक लाख बालबालिकाले हेल्पलाइनमा सम्पर्क गरी आफ्ना समस्या टिपोट गराएको बताए । यो अवधिमा सिविनले ४ हजारभन्दा धेरै बालबालिकासम्बन्धी मुद्दालाई अदालतमा प्रवेश गराएको र १६ हजारभन्दा धेरैलाई पारिवारिक पुनर्स्थापना गरिएको तुलाधरले जानकारी दिए । बाल हेल्पलाइनका कार्यक्रम संयोजक सागर भण्डारीले बालश्रम, बालविवाह, यौन शोषण र दुर्व्यवहार, सडक बालबालिका, द्वन्द्व प्रभावित बालबालिका र बेचबिखनमा परेका बालबालिकालाई सिविनले उद्धार गरेको जानकारी दिए । उनले सूचना प्रविधिको बढ्दो उपयोगका कारण पछिल्लोसमय हेल्पलाइनको महत्व अझै बढे पनि कहिलेकाहीँ फोन नलाग्ने समस्याले चुनौती थपेको बताए । कार्यक्रमका सहभागीहरूले बालअधिकार संरक्षणका लागि राज्यसँग बलियो संरचना हुनुपर्ने र हेल्पलाइनको पहुँच बढाउन प्रचारप्रसारमा अझ बढी जोड दिनुपर्ने बताएका थिए ।
पानी पर्ने आशामा भ्यागुताको विवाह चितवन। भरतपुर महानगरको विभिन्न ठाउँमा पानी पर्ने विश्वासमा भ्यागुताको विवाह गरिएको छ । लामो समयदेखि खडेरी परेर तापक्रम बढेसँगै मानिस आत्तिएर धार्मिक बिहेअनुसार भ्यागुताको बिहे गरेका हुन् । आज भरतपुर महानगरपालिका–५ सापकोटा चोकमा विवाह गरिएको छ । शनिबार पनि भरतपुर–९ काँडाघारी टोलमा भ्यागुताको विवाह गरिएको थियो । बाजागाजा र नाँचगानसहित गरिएको विवाहमा ठूलो संख्यामा मानिसको सहभागिता रहेको थियो । विगत केही सातादेखि पानी पर्न नसकेका कारण मौसममा आएको अत्यधिक तापक्रमले आक्रान्त जनताको शीतलताको कामना गर्दै भ्यागुताको बिहे गरेका हुन् ।
वीरगन्जमा नाला सफा गर्ने क्रममा १०२ राउन्ड गोली फेला वीरगन्ज। वीरगन्जमा सडकको नाला सफा गर्ने क्रममा विभिन्न हतियारमा प्रयोग हुने १०२ राउन्ड गोली फेला परेको छ । आइतबार बिहान साढे ८ बजे पर्साको वीरगञ्ज महानगरपालिका-१० मा डोजर प्रयोग गरेर नाला सफा गर्ने क्रममा फोहोरमा प्लाष्टिकको झोलामा उक्त गोली फेला परेको प्रहरीले जनाएको छ । जनप्रतिनिधिको रोहबरमा झोला खोल्दा विभिन्न प्रकारका हतियारमा प्रयोग हुने १०२ राउन्ड गोली भेटिएको पर्साका प्रहरी प्रवक्ता डीएसपी निर्मल बुढाथोकीले बताए । प्रहरीले घटनाबारे अनुसन्धान थालेको जनाएको छ ।
स्विमिङ पुलमा डुबेर पोखरामा बालकको मृत्यु काठमाडौं। पौडी खेल्ने क्रममा स्विमिङ पुलमा डुबेर १० वर्षीय बालकको ज्यान गएको छ । पोखरा महानगरपालिका–८ आलुमाइला चोक बस्ने १० वर्षीय ऐनक्स थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पोखरा १६ बाटुलेचौरस्थित स्विमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेर घाइते भएका थापालाई उपचारको लागि अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् । घटनाको बारेमा थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
अमेरिका र माल्टा पठाउँछु भन्दै ठगी गर्ने दुई जना पक्राउ काठमाडौं। अमेरिका र माल्टा पठाउँछु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगी आरोपमा दुई जनालाई पक्राउ गरेको हो । माल्टा पठाउने भनेर ठगी गरेको आरोपमा मुगुको छायानाथ रारा नगरपालिका–३ घर भएका ३४ वर्षीय प्रवीण खड्का र अमेरिका पठाउँछु भनेर ठगी गरेको आरोपमा उदयपुरको चौदण्डीगढी नगरपालिका–७ कि ३७ वर्षीया सुनिता न्यौपाने श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । खड्काले २ जनालाई माल्टा पठाउँछु भन्दै ९ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ। श्रेष्ठले अमेरिका पठाउने भन्दै ६ लाख २१ हजार रुपैयाँ ठगी गरेको पाइएको प्रहरीको भनाइ छ । पक्राउ परेका दुबै जनालाई कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ ।
एक्साभेटर दुर्घटनामा २५ वर्षीय युवकको मृत्यु तनहुँ। आबुखैरेनी गाउँपालिका–५ रसौलीमा आज एक्साभेटर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ। सल्यान स्थायी घर भएका अन्दाजी २५ वर्षका खेमराज चलाउनेको सो दुर्घटनामा मृत्यु भएको हो। आबुखैरेनी–२ मार्किचोकबाट भरतपुर चितवनका लागि दुई सय २० केभी हाइटेन्सनको टावर निर्माणका लागि जाने कच्ची सडक बनाउने क्रममा दुर्घटना भएको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए। आबुखैरेनी–५ रसौलीबाट ग ३ क ३९७४ नम्बरको एक्साभेटर अन्दाजी एक हजार पाँच सय मिटर तल खोंचमा खस्दा उक्त दुर्घटना भएको हो। एक्साभेटर चालक चितवन स्थायी घर भएका सुन्दर श्रेष्ठ हालसम्म फरार रहेकाले निजको खोजतलास भइरहेको प्रहरीले जनाएको छ।
त्रिभुवन विमानस्थल नजिकै प्रहरीले गोली चलायो काठमाडौं। प्रहरीले लागुऔषध कारोवारीलाई नियन्त्रणमा लिन सिनामंगल नजिक एक व्यक्तिमाथि गोली चलाएको छ । लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले लागुऔषध कारोबारीमाथि गोली प्रहार गरी नियन्त्रणमा लिएको हो। गोली लागी घाइते भएका व्यक्तिलाई प्रहरीले उपचारका लागि अस्पतालमा पुर्‍याएको छ। ब्यूरोका प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीका अनुसार लागुऔषधका कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि गोली चलाएपछि प्रहरीले जवाफी फायरिङ गरेको हो। विमानस्थलको मुख्य प्रवेशद्वारबाहिर कारोबारीमाथि गोली चलाइएको हो। गोली चलाउँदा केही बेर सडक अवरुद्ध भएको थियो। प्रहरीको फायरिङमा लागुऔषध कारोबारीलाई घुँडामुनि गोली लागेको छ। घाइतेलाई उपचारका लागि काठमाडौं मेडिकल कलेज लगिएको छ। उनको साथबाट केही मात्रामा लागुऔषध बरामद गरिएको प्रहरीको दाबी छ।
बुहारीको हत्या गरेको अभियोगमा सासु र ससुरा पक्राउ कैलाली। बुहारीको हत्या गरेको अभियोगमा प्रहरीले सासु र ससुरालाई पक्राउ गरेको छ।  पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका-१ गोप्का बस्ने ५२ वर्षीय डिल्ली सिंह बुढा र उनकै श्रीमती ५० वर्षीया लहरी बुढा रहेका छन्। आफ्नै बुहारी २७ वर्षीया कौशी भन्ने कबिता बुढाको हत्या गरेको अभियोगमा उनीलाई प्रहरीले पक्राउ गरेको हो। कबिता यही जेठ १८ गतेबाट हराएको भन्ने निवेदनका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा हत्या गरी गौरीगंगा नगरपालिका-१ केदारेश्वर सामुदायिक बनस्थित सुख्खा नालामा खाल्डोमा गाडेको अवस्थामा कविताको शव फेला परेको थियो। घरको काम नगर्ने, आफुखुशी गर्ने भनी निहु खोज्दै बिवाद हुँदा भान्सा कोठामा रोटी पकाउँदै गरेकी कबितालाई डिल्लीले टाउकोमा चिरपट दाउराले प्रहार गरी हत्या गरेपश्चात डिल्ली र उनकै श्रीमती लहरी मिलेर लाशलाई डोकोमा हाली उक्त बनमा लगि गाडेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएपछि लहरीलाई गत मंगलबार र फरार रहेका डिल्लीलाई भजनी नगरपालिका-३ सीमावर्ती क्षेत्रबाट शनिबार प्रहरीले पक्राउ गरेको हो। साथै प्रतिवादी डिल्लीलाई लुकाई छिपाई राख्न सहयोग गर्ने भजनी नगरपालिका-४ बस्ने ४१ वर्षीय जयबीर बुढालाईसमेत प्रहरीले पक्राउ गरेको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
दाइजोलाई लिएर दुई महिलाको हत्या सर्लाही। दाइजोलाई लिएर यहाँका दुई छुट्टाछुट्टै घटनामा दुई महिलाको हत्या भएको छ। सर्लाही हरिपुर नगरपालिका वडा नं ३ स्थित फरहदवा र वडा नं ६ स्थित लक्ष्मीपुरमा दुई महिलाको हत्या भएको हो। वडा नं ३ स्थित फरहदवाका अब्दुल साह फकिरले अन्दाजी २३ वर्षीया श्रीमती ईदा खातुनको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेशराज सुवेदीले जानकारी दिए। सुवेदीका अनुसार अब्दुलले श्रीमतीलाई माइतबाट रु एक लाख नल्याएको भन्दै पटक-पटक मानसिक तथा शारीरिक यातना दिने गरेका थिए। यातनापछि ईदा माइत गएको तर छलफलपछि केही समय अगाडि उनी घर फर्केको स्थानीय इन्दी मन्सुरले बताइन्। ईदा बुबा मन्सुर साह फकिरले अब्दुल र उनका परिवारले ईदालाई पटक-पटक शारीरिक र मानसिक यातना दिने गरेको आरोप लगाए। “इदाका पाँच वर्षे छोरा कमलेनले भनेपछि मात्रै हत्या भएको थाहा भयो, शव हेर्न जाँदा ईदाको शरीरभरि माटो लागेको र मुखमा कपडा कोचिएको थियो”, बुबा साहले भने। कुटपिटपछि मृत्यु भएकी ईदालाई झुण्ड्याइएको थियो। घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। ईदाको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल सर्लाहीमा राखिएको प्रहरीको भनाइ छ। साथै वडा नं ६ स्थित लक्ष्मीपुरमा जल्दै गरेको अवस्थामा एकजनाको शव प्रहरीले नियन्त्रणमा लिएको छ। सोही स्थानमा बस्ने अन्दाजी ४५ वर्षिय इन्द्रकलादेवी साहलाई श्रीमान राजाराम साहले कुटपिट गरी घाइते बनाएपछि मृत्यु भएको प्रहरीको भनाइ छ। दाइजोको विषयमा विवाद हुँदा श्रीमानको कुटपिटबाट घाइते भएकी इन्द्रकलालाई उपचार नगरी घरमै राखिएको र केही समयपछि मृत्यु भएको थियो। इन्द्रकलादेवीको शवलाई लखन्देही नदीमा दाहसंस्कार गर्न लागिएको खबर पाएपछि शवलाई जल्दै गरेको अवस्थामा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपेन्द्र पञ्जियारले जानकारी दिए। “लालबन्दी र हरिवनको सिमानामा रहेको लखन्देही नदीमा जल्दै गरेको चिताबाट शवलाई नियन्त्रणमा लिई आधा जलेको शरीर बरामद गरी पोस्टमोर्टमका लागि प्रादेशिक अस्पताल सर्लाही पठाइएको छ”, पञ्जियारले भने। इन्द्रकलादेवीका श्रीमान राजाराम घटना भएकै दिनदेखि फरार छन्। शवलाई कानुनी प्रक्रिया पूरा नगरी जलाउन सहयोग गर्ने ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
खडेरीले मकै खेतमै सुके, किसान चिन्तित भरतपुर। खडेरीले खेतमै मकै सुकेपछि चितवनका किसान चिन्तित बनेका छन्। मकैको घोगा लाग्ने र पाक्ने बेलामा बढ्दो तापक्रम र खडेरीले मकैका बोट सुक्न थालेपछि किसान चिन्तित बनेका हुन्। सुकेको मकैका बोट काटेर किसानले गाई, भैँसीलाई घाँसको रूपमा दिन थालेका छन्। भरतपुर महानगरपालिका–८ गौरीगन्जका नवीन पुरीले १३ गठ्ठा जग्गाको मकै पूरै सुकेको बताए। उनले भने, “घोगा लाग्ने बेलामा मकैका बोट सुक्यो। मकैमा गरिएको मल, बीउ र खनजोतको लगानी खेर गयो।” भरतपुर महानगरपालिका–११ बसेनीकी जलपादेवी घिमिरेले सात गठ्ठा जग्गामा मकै लगाएकी थिइन्। सबै मकै सुक्न थालेपछि उनले घाँसको रूपमा मकैका बोट काटेर गाईलाई दिन थालेकी छिन्। सबै परिवार कृषिमा आश्रित ७८ वर्षीय जलपादेवी मकै डढ्न थालेपछि चिन्तित छिन्। सोही ठाउँकी तारादेवी भण्डारीको पनि चार गठ्ठाको मकै सुकेको छ। पाइप लगाएर अलिअलि पानी हाल्दाहाल्दै पनि चर्को घामले मकै सुकेको उनले बताइन्। उनले भनन्, “मकैका बोट सुकेपछि काटेर गाईलाई दिन थालेको छु। चाख्नसमेत नपाइने भयो मकै । मल, बीउ र मेहनत त्यसै खेर गयो।” कृषि ज्ञान केन्द्र चितवनका सूचना अधिकारी मीनबहादुर पुनले प्राकृतिक कारणले यस वर्ष मकै सुकेको भन्दै केही रोकथाम गर्ने उपाय नै नभएको बताउँछन्। उनले भने, “सिँचाइको सुविधा भएको ठाउँबाहेक अन्य ठाउँको मकै जोगाउन कठिन छ।” उनले सरकारी अनुदानमा बोरिङको सुविधा भएको ठाउँको मकै मात्र केही जोगिन सक्ने भए पनि अन्यत्रको मकै पूरै सुकेको बताए। उनले मकै मात्र होइन खडेरीका कारण तरकारी खेतीमा समेत प्रभाव परेको छ। चितवनमा २६ हजार हेक्टर बढी क्षेत्रफलमा मकैखेती गरिने जनाइएको छ। उत्पादकत्व प्रतिहेक्टर तीन दशमलव ७९ मेट्रिक टन रहेको छ। मकै घोगा लगाउने सिजनमै खडेरीले मकै सुकेपछि अहिले किसान समस्यामा परेका हुन्। चितवनमा प्रायः तीन सिजन मकैको खेती हुन्छ। माघ फागुनमा लगाइने ‘बसन्ते’ मकै चितवनमा १४ हजार छ सय हेक्टरमा खेती हुने गर्छ। यो मकै जेठ–असारमा पाक्छ। वैशाख–जेठमा गरिने मकै खेती साउन भदौमा पाक्छ। यसलाई वर्षे मकै भनिन्छ। चितवनमा यो मकै नौ हजार आठ सय हेक्टर बढीमा खेती गरिन्छ। यस्तै असोज कात्तिकमा लगाइने हिउँदे मकै चितवनमा १४ हजार छ सय हेक्टरमा खेती हुन्छ। यो मकै फागुन–चैतमा पाक्छ। चितवनमा वार्षिक ९४ हजार ८० मेट्रिक टन मकै उत्पादन हुने गर्छ। – रासस
केही दिनदेखि अत्यधिक गर्मी, जनजीवन प्रभावित कैलाली। केही दिनदेखि बढेको गर्मीले कैलाली,कञ्चनपुर लगायतका जिल्लाको जनजीवन प्रभावित बनेको छ । जल तथा मौसम विज्ञान विभागको फिल्ड कार्यालय अत्तरियाले मङ्गलबारदेखि कैलाली, कञ्चनपुर लगायत जिल्लाको तापक्रम वृद्धि भएको जनाएको छ । कार्यालय प्रमुख सिङ्गल चौधरीले शनिबार ४० दशमलव छ डिग्री तापक्रम मापन गरिएको बताए। “मङ्गलबारसम्म यहाँको तापक्रम ३७ डिग्री थियो अहिले बढेर ४० दशमलव छ पुगेको छ”, उनले भने, “बिहीबार र शुक्रबार ४० दशमलव पाँच डिग्री तापक्रम मापन गरिएको थियो ।” महाकाली प्रादेशिक अस्पताल कञ्चनपुरका मेडिकल सुपरिटेन्डेन्ट डा अर्जुन भट्टले गर्मीमा अत्यावश्यक कामबाहेक बाहिर नआउन आग्रह गरे। “गर्मीका कारण ज्वरो आउने, आलश्य हुने चक्कर आउनेलगायतका रोग हुन सक्छन् सबैले सतर्कता अपनाउनुपर्छ”, उनले भने, “बाहिर निस्कनुपरे छाता आढ्ने, चश्मा लगाउने प्रशस्त मात्रामा पानी खाने गर्नुपर्छ ।” अत्यधिक गर्मी बढेपछि यहाँको जनजीवन प्रभावित बनेको हो । गर्मी बढेपछि कैलालीमा चार दिनका लागि विद्यालय बन्द गरिएको छ भने कञ्चनपुरमा जिल्ला समन्वय समितिले सूचना जारी गर्दै बिहान १० बजेभित्र मात्रै विद्यालय सञ्चालन गर्न निर्देशन दिएको छ । “अहिले जिल्लामा दादुरा रुवेलाविरुद्धको खोप अभियान सञ्चालन भइरहेको छ, खोप केन्द्र पनि विद्यालयमै छन्”, उनले भने, “खोप अभियानका कारण बिहान १० बजेभित्र मात्रै विद्यालय सञ्चालन गर्न सबै पालिकालाई पत्राचार गरेका छौँ ।” गर्मीका कारण विद्यालय जाने बालबालिका र वृद्धवृद्धा बढी प्रभावित बनेका हुन् ।
समाजवादी प्रेस संगठनको अध्यक्षमा सुवेदी विजयी काठमाडाैं। समाजवादी प्रेस संगठन, नेपालको अध्यक्षमा विश्वमणि सुवेदी निर्वाचित भएका छन्। यही जेठ २६ र २७ गते काठमाडौँमा सम्पन्न सो संगठनको प्रथम राष्ट्रिय महाधिवेशनले सुवेदीलाई अध्यक्षमा निर्वाचित गरेको हो। आइतबार बिहान सम्पन्न अन्तिम मतपरिणामअनुसार सुवेदीले प्रतिस्पर्धी भूपराज खड्कालाई २८ मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन्। सुवेदीले एक सय ४७ मत प्राप्त गरी विजयी हुँदा खड्काले एक सय १९ मत प्राप्त गरेका थिए। अध्यक्षका अर्का प्रतिस्पर्धी राघव साहले १५ मत प्राप्त गरे। यसैगरी खुला उपाध्यक्षमा नवराज छत्कुल्ली (एक सय ५०), महिला उपाध्यक्षमा अस्मिता गिरी (एक सय ७१), उपाध्यक्ष सुदूरपश्चिममा नरेन्द्र भट्ट (एक सय ७४) मत प्राप्त गरी विजयी भएकाे निर्वाचन समितिका सदस्य नारायण सुवेदीले जानकारी दिए। उनका अनुसार महासचिवमा रामकुमार एलनले एक सय ३९ मतले विजयी हुँदा उनका प्रतिस्पर्धी हृदय भुसालले एक सय ३० मत प्राप्त गरे। उपमहासचिवमा प्रेम गौतम (एक सय ६४), प्रतिज्ञा बुढामगर (एक सय २२) र लेखनाथ सिकारु (एक सय ३९) मत प्राप्त गरी विजयी भएका छन्। सचिव खुलामा शिवप्रसाद ढुङ्गाना (एक सय १७), अनिल शाही (एक सय ३६) तथा पूर्णबहादुर कार्की (८६) मत प्राप्त गरी विजयी भएका छन्। यसैगरी सचिव (महिला) मा क्रान्ति न्यौपाने (एक सय २८), सचिव (दलित)मा प्रदीप नेपाली (एक सय ५१) र कोषाध्यक्षमा कृपा भण्डारी (एक सय ३९) मत प्राप्त गरी विजयी भएको निर्वाचन कमितिले जनाएको छ। त्यस्तै सुदूरपश्चिम उपाध्यक्षमा नरेन्द्र भट्ट निर्वाचित भएका छन्। उपत्यका उपाध्यक्षमा कृष्णराज गौतम, एसोसिएट/प्रतिष्ठान उपाध्यक्षमा तेजप्रसाद वाग्ले सर्वसम्मत निर्वाचित भएका छन्। यसैगरी अन्य प्रदेशमा पनि सर्वसम्मत उपाध्यक्ष चयन भएको निर्वाचन समितिका सदस्य सुवेदीले जानकारी दिए। शुक्रबार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गरेकाे राष्ट्रिय सम्मेलनले १५ बुँदे विशेष समसामयिक प्रस्तावसमेत पारित गरेको छ। नवनिर्वाचित कार्यसमितिलाई पार्टी एकीकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बधाई तथा शुभकामना दिएका थिए।
डा. राजेश आचार्यको स्मृतिमा जनचेतनामूलक प्रवचन काठमाडौं। राजेश मेमोरियल क्यान्सर रिलिफ फाउन्डेसनले संस्थाको चौथो वर्ष प्रवेशमा ‘स्वास्थ्य सम्बन्धी जनचेतनामूलक कार्यक्रम’ अन्तरगत क्यान्सर रोग विषयमा प्रवचनको आयोजना गर्‍याे। शनिबार बिहान काठमाडौं बानेश्वरमा आयोजित कार्यक्रममा सिनियर जीआई सर्जन तथा क्यान्सर रोग विशेषज्ञ प्रा.डा. सुनिलकुमार शर्मा ढकालले विभिन्न किसिमका क्यान्सरबारे चर्चा गरे। प्रमुख अतिथि डा. शर्माले शरीरका विभिन्न भागमा हुने क्यान्सरका विषयमा बोल्दै हरेक नागरिकले यसतर्फ सचेत हुनुपर्ने र समयमै चिकित्सकसँग सल्लाह लिनुपर्ने बताए। उनले निको हुनसक्ने क्यान्सर नेपालमै उपचार गरे पनि निको हुने र निको नहुने जुनै मुलुकमा गए पनि निको हुन नसक्ने बताए। उनले क्यान्सर हाम्रो दुश्मनका रूपमा उभिएको हुँदा यसबारे हरेकले बुझ्नुपर्ने, जानकारी राख्नुपर्नेमा जोड दिए। हरेक मानिसले सकारात्मक सोच राख्नुपर्नेमा जोड दिँदै डा. शर्माले क्यान्सर रोगबारे प्रत्येक व्यक्तिले सचेत हुनुपर्ने बताए। उनले स्तन क्यान्सर, फोक्सोको क्यान्सर, घाँटीको क्यान्सर, पाकस्थलीको क्यान्सर, आन्द्राको क्यान्सर, प्रोस्टेटको क्यान्सरबारे जानकारी दिए। डा. शर्माले फाउन्डेसनले जनचेतनाका अभिवृद्धिकासाथै क्यान्सर स्कृनिङ जाँच शिविर संचालन गर्दै आएकोमा उक्त कामको प्रशंसा गरे। कार्यक्रममा डा. राजेशका बालसखा तथा बागमती प्रदेशसभाका सांसद सुरजचन्द्र लामिछाने, फाउन्डेसनका अध्यक्ष जनार्दन आचार्य र विष्णुबहादुर सिलवालले फाउन्डेसनको गतिविधिबारे बोलेका थिए।
आजको मौसमः अत्याधिक गर्मीबाट बच्न माैसम बिभागकाे अनुराेध काठमाडौं। हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका पहाडी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। राति भने कोशी र बागमती प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी र बागमती प्रदेशका थोरै स्थानहरूका साथै मधेश प्रदेश लगायत देशका बाँकी पहाडी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। देशका मध्य तथा पश्चिमी तराईका भू-भागहरूमा अधिकतम र न्यूनतम तापक्रम केही दिन नघट्ने देखिन्छ, जसका कारण सो भू-भागहरूमा तातो हावा र लू चलिरहने देखिन्छ। साथै कोशी र कर्णाली प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका पहाडी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ । अत्याधिक गर्मी तथा मेघगर्जनरचट्याङबाट हुन सक्ने जोखिम वा क्षति बाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
नेपाली मनको धनी छन्ः उपसभामुख राना काभ्रे (मण्डनदेउपुर)। सङ्घीय सरकारका उपसभामुख इन्दिरा रानाले नेपालीहरू मनको धनी रहेको बताएकी छन्। भूकम्प, बाढीपहिरो, कोरोनालगायतका थुप्रै विपत्तिमा समेत हार नखाई मानव हितका क्षेत्रमा लागिरहेको बताउँदै उनले सहयोगीहरूलाई धन्यवाद व्यक्त गरिन् । काभ्रेको मण्डन देउपुर नगरपालिका–९ ढाइटारमा सेवक नेपालको सहयोगमा नवनिर्मित बालगृहको उद्घाटन गर्दै उाले सकभर बालबच्चालाई आफ्नै परिवारसँगै राख्न आग्रह गरिन्। उपसभामुख रानाले आर्थिक सङ्कटका कारण हुनपर्ने जति काम नभएको भन्दै अभावको बेला आफू नेतृत्वमा आएको बताइन् । कतिपयले पहुँचका आधारमा वा अन्य बहानामा पनि बालगृहमा बालबालिका राखेको पाइएको बताउँदै उनले वडा कार्यालयलगायत नियमन गर्ने निकायले यसबारेमा चासो दिनुपर्ने बताइन्। स्थानीयवासीमा फजुल खर्च नगर्न आग्रह गर्दै फजुल खर्च गर्ने रकम सामाजिक क्षेत्रमा लगानी गर्न उनले आग्रह गरिन् । रानाले कति जना बच्चाको उद्धार गरियो र संरक्षण गरियो भन्ने रेकर्ड राख्नसमेत आग्रह गरिन्। उनले आफूले बालबालिकाको क्षेत्रमा गरेको कामको अनुभव सुनाउँदै आगामी दिनमा समेत सहयोग, समन्वय र हातेमालो गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाइन्। चन्दा स¬ङ्कलनबाटै डेढ करोडको ‘सेवक नेपाल बालगृह’ विसं २०७२ साउनमा स्थापना भएको सेवक नेपालले चन्दा सङ्कलनका माध्यमबाट काभ्रेको मण्डनदेउपुर नगरपालिका–९ ढाइटारमा बालगृह भवन निर्माण गरेको छ । असहाय र अशिक्षित बालबालिकालाई संरक्षण गर्ने योजनाका साथ उक्त भवन निर्माण गरिएको हो । अहिले यहाँ २६ बालबालिका आश्रय लिएर अध्ययन गरिरहेका छन् । भवन निर्माण र बालबालिकाको खाना, बसोबास र अध्ययनका लागि विभिन्न दातृ निकायले सहयोग गरेका छन् । संस्था दर्ता भएपश्चात् अनेकन परोपकारी कार्य गर्दै बालगृह सञ्चालनका लागि जग्गा खरिद तथा जग्गामा भवन निर्माणको शिलान्यास गरी कार्य अघि बढाइएको थियो । कार्यसमितिले जिम्मेवारी पाएको पहिलो बैठकबाट अभिभावकविहीन बालबालिकालाई संस्थाको आफ्नै जग्गामा बालगृह भवन निर्माण गरी संरक्षण दिने उद्देश्यले बालगृह भवन निर्माणकार्य सुरु गरिएको भवन निर्माण संयोजक केशव सापकोटाले जानकारी दिए । सापकोटाको संयोजकत्वमा उपसंयोजक श्रीराम क्षेत्री, सदस्य देवलाल तिमल्सिना र राजकुमार गौतमको समिति बनेको थियो । भवन निर्माणकार्य तत्काल प्रारम्भ गरी नेपाल सरकारको खरिद ऐन, २०६३ अनुसार राष्ट्रिय दैनिक पत्रिकामा भवन निर्माण सामग्री र भवन निर्माण ज्यालाको छुट्टाछुट्टै बोलपत्र गरिएको र पारदर्शी ढङ्गबाट उक्त बोलपत्रलाई सारभूतरूपमा प्रभावकारी रहेको सबैभन्दा कम दर, रेट, मूल्य प्रस्ताव गर्ने कम्पनी तथा संस्थामार्फत बालगृह भवन निर्माणकार्य सुरू गरिएको सापकोटाको भनाइ छ । भवन निर्माण सुरू गर्दा सेवक नेपाल संस्थासँग भवन निर्माण गर्न पर्याप्त रकम थिएन । वर्तमान कार्यसमिति तथा देश–विदेशमा रहनुभएका सम्पूर्ण अभियन्ताहरूको अदम्य साहस र सक्रियताका साथै सहयोगले बालगृह भवन निर्माणकार्य सम्पन्न गरिएको हो । निर्माणमा सहयोगी दाताको नामावली सेवक नेपालको कार्यालयमा राखिएको छ । उक्त तीन तलाको मुख्य भवन, दुई तलाको प्रशासनिक भवन, भान्छा, भण्डार कक्ष, खेलमैदानलगायत छन् ।
बाघको छाला र हड्डीसहित दाङबाट चार जना पक्राउ दाङ । दाङबाट बाघको छाला र हड्डीसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजपुर गाउँपालिका–७ का ३१ वर्षीय वीरबहादुर पुन, सोही ठाउँका ४० बर्षीय आशाराम बिक, २५ बर्षीय देवबहादुर बिक र रोल्पा माडी गाउँपालिका–३ का २८ बर्षीय अमलाल घर्ती मगर रहेको प्रहरीले जनाएको छ । पूर्व(पश्चिम राजमार्ग अन्तर्गत लमही नगरपालिका–९ को अमिलियामा बा २० प ९०७२ नम्बरको मोटरसाइकल खानतलासी गर्ने क्रममा शुक्रबार बिहान ११ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमले जानकारी दिए । पक्राउ परेकाहरुबाट ९ फिट ६ इन्च लामो र ५ फिट १० इन्च चौडाइ भएको बाघको छाला र १४१ वटा हड्डी (८ किलो ४३० ग्राम) बरामद गरिएको डीएसपी गौतमले बताए । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पानीको जोहो गर्न दुई घण्टा गल्याङ। स्याङ्जाको गल्याङ नगरपालिका–३ पाल्पाली डाँडाका स्थानीयले खानेपानीको जोहो गर्न दुई घण्टा बिताउने गरेका छन् । गल्याङ बजारबाट पाल्पाली डाँडा करिब तीन सय मिटर दूरीमा पर्दछ । यहाँका अधिकांशले ज्याला मजदुरी गरेर जीविकोपार्जन गरिरेहका छन् । भालेको डाँकोसँगै उठेर बिहान ९–१० बजेसम्म सबैको समय पानीको खोजीमा बित्छ । बस्ती बसेदेखि अहिलेसम्म यहाँका स्थानीय दुईरअढाई घण्टा पिउने पानीको खोजीमा बिताउँछन् । “बर्खा होस्, या हिउँद डोकोमा पानी नबोकी सुक्खा छैन, बर्खामा अलि नजिकको मुहानमा पानी पाइए पनि हिउँदमा पानी कहाँ छ भन्दै खोज्दै हिँड्नुपर्छ”, स्थानीय ४८ वर्षीया चनिसरा गाहाले भनिन्, “पानीको व्यवस्था गरिदिन नगरपालिकासँग धेरै अनुरोध गर्‍यौँ तर पनि पिउने पानी डोकोमा नबोकी खानै पाइँदैन ।” उनले हिउँदको समय पानी खोज्न दुईरअढाई घण्टा लाग्ने बताउँदै एउटा मुहानमा पानी नभए अर्कोमा जानुपर्ने बाध्यता रहेको सुनाइन् । “स्कुल जाने केटाकेटीलाई पानी लिन पठायो दश उतै बजाउँछन्, पानीका कारण राम्रोसँग पढ्न पनि पाउँदैनन्”, गाहाले भनिन्। स्थानीय ६९ वर्षीया चेतकुमारी गाहाले पाल्पाली डाँडामा बस्न थालेदेखि पानी बोकेरै खाएको दुःखेसो गरिन्। “पानी बोकेरै जीवन बिताउनु पर्ने भयो, घरमै आएको पानी थाप्ने दिन कहिले आउला ?”, उनले प्रश्न गरिन्, “यो डाँडामा बोल्ने मान्छे पनि कोही नभएर होला, खानेपानीमा सधैँ सास्ती खेप्नु परेको छ ।” स्थानीय ५५ वर्षीय अमर थापाले आँधीखोला लिफ्टिङ खानेपानीले वस्तुभाउलाई खुवाउन सहज बनाएको बताए। “मान्केखोलाको पानी पिउनयोग्य खासै मानिँदैन, नौ घरको संयुक्त एकमात्र धारा छ, वस्तुभाउलाई खुवाउन सबैले डोकोमै बोक्ने गरेका छौँ”, उनले भने, “मान्केखोलाको पानी आएको पनि धेरै भएको छैन, कल्लेरीको पानी ल्याउने भनेर घरघरै धारा बनाएका छन् ।” उनले कल्लेरीको पानी आए पिउने पानीको समस्या हट्ने बताए। तुल्सीभञ्ज्याङ खानेपानी तथा सरसफाइ आयोजनाका अध्यक्ष लिलाबल्लै अर्यालले ‘एक घर एक धारा’ कार्यक्रमअन्तर्गत पाल्पाली डाँडामा पिउने पानी वितरणका लागि तयारी भइरहेको जानकारी दिए। अबको एक महिनाभित्र सबैका घरघरमा पानीको धारा आइपुग्ने उनले दाबी गरे। गल्याङ नगरपालिका–३ का वडाअध्यक्ष कृष्ण भट्टराईले तुल्सीभञ्ज्याङ खानेपानी तथा सरसफाइ आयोजनाको पानी अपुग भएमा कोसेढुङ्गाको पानी लिफ्टिङ गरेर पाल्पाली डाँडामा ल्याउने योजना बनाइएको जानकारी दिए । अब केही महिनाभित्रै गाउँमा खानेपानीको समस्या अन्त्य हुने उनको भनाइ थियो ।
प्रहरी हिरासतबाट फरार थुनुवा साढे ४ महिनापछि पक्राउ जनकपुरधाम । धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासत फोडेर फरार भएका एक थुनुवा साढे ४ महिनापछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा क्षिरेश्वरनाथ नगरपालिका-२ रमदैयाका २५ वर्षीय रोशन यादव रहेको प्रहरीको भनाइ छ । उनलाई विशेष सुचनाको अधारमा आज बिहान  साढे १० बजे भारत बिहारको सितामढी जिल्लाबाट दिदीको घर महोतरी औरही बजार आउँदै गरेको अवस्थामा पक्राउ गरेको धनुषाका प्रहरीले जनाएको छ । उनी शान्तिविरुद्धको अपराध मुद्दा शिर्षकमा पक्राउ परी थुनामा थिए । माघ १५ गते राति हिरासत फोडेर यादवसहित ६ थुनुवा फरार भएका थिए । जसमध्ये पाँचजनालाई यसअघि नै प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरिसकेको छ ।
नागरितासम्बन्धी व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै तारा बरालले च्यातिन् संविधान काठमाडौं। सामाजिक अभियन्ता तारा बरालले नेपालको संविधान च्यातेकी छिन् । शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी नेपालको संविधानको धारा १४, २८९ र २९१ मा रहेका नागरिकतासम्बन्धी व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै उनले संविधानका उक्त धाराहरु च्यातेकी हुन्। सार्क मुलुकभन्दा बाहिर गएर आवासीय अनुमतिपत्र लिएका नेपालीहरुले त्यहाँको नागरिकता नत्याग्दा पनि यहाँको नागरिकता कायम रहनुपर्ने उनको माग छ । ‘नेपाल सरकारले रोजगारी नदिएकै कारण नेपालीहरु विदेशिन बाध्य भए। सरकारले उनीहरुलाई नेपाली माटोसँगको सम्बन्ध विच्छेद गरिदियो। बाबु, आमा, छोराछोरीसँगको सम्बन्धविच्छेद गरिदियो। कसैले यो देशको नागरिकता त्याग्नुपर्छ भने यो देशमा पैसा पठाउला?’– उनले भनिन्। विदेशमा गएकाहरु उक्त देशमा सुविधा लिनका लागि त्यहाँको नागरिकता लिन बाध्य हुने गरेको उनको भनाई छ । ‘उनीहरुले सुविधा पाउनका लागि त्यहाँको कार्ड लिनका लागि बाध्य हुन्छन् । अझ बढि सुविधा लिनका लागि त्यहाँको नागरिता लिन बाध्य हुन्छन् । हाम्रो देशको सरकारले रोजगारी दिएन र उनीहरु विदेश गए । बाबु विदेश गयो । उतैको नागरिकता दिएपछि छोरीको नागरिकता के भनेर दिन्छ नेपाल सरकारले?’–उनले प्रश्न गरिन् । संविधानको धारा १४ मा विदेशी मुलुकको नागरिकता प्राप्त गरेको दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठनको सदस्य राष्ट्रबाहेकका देशमा बसोबास गरेको साबिकमा वंशजको वा जन्मको आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिलाई संघीय कानून बमोजिम आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी नेपालको गैरआवासीय नागरिकता प्रदान गर्न सकिने व्यवस्था रहेको छ । त्यसैगरी, धारा २८९ (२) मा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेशसभाको सभामुख र सुरक्षा निकायका प्रमुखको पदमा निर्वाचित, मनोनित वा नियुक्ति हुन बाहेकका पदमा नियुक्ति हुन वंशज, जन्मका आधारमा र अंगिकृत नागरिकता प्राप्त गरेका व्यक्ति योग्य हुने व्यवस्था राखिएको छ । त्यसैगरी संविधानको धारा २९१ ले कुनै पनि नेपाली नागरिकले विदेशमा स्थायी आवासीय अनुमति पत्र लिएको अवस्थामा निर्वाचित, मनोनयन र नियुक्तिका लागि रोकेको छ । यीनै बुँदाहरुमा असन्तुष्टि जनाउँदै उनले यही परम्परा कायम रहिरहे नेपाली जति अन्य देशको स्थायी आवासीय प्रमाण पत्र लिने र जन्म र अंगिकृत नागरिकता लिएकाहरुले भोलिका दिनमा शासन गर्ने अवस्था आउन लागेको भन्दै उनले विरोध जनाएकी हुन् । अहिलेको संविधानले नेपालीलाई विदेशी बनाउने र विदेशीहरुलाई नेपाली बनाउने काम गरिरहेको उनको आरोप छ । संविधान लेखनकै क्रममा यसका लागि ठूलो चलखेल भएकोसमेत उनको आरोप थियो ।
हेटौंडामा वृद्ध दम्पती मृत फेला हेटौंडा। मकवानपुरको हेटौंडामा वृद्ध दम्पती मृत फेला परेका छन् । हेटौंडा उपमहानगरपालिका–१ चाइना गेटका ७८ वर्षीय कृष्णप्रसाद दाहाल र उहाँकी श्रीमती ७४ वर्षीया नन्दकुमारी दाहाल झुण्डिएको अवस्थामा फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीका अनुसार दुवैजना गए राति तीन तले पक्की घरको पूजा कोठामा पासो लगाइ झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । मृतक दम्पती कान्छो छोरा र बुहारीसँगै बस्दै आएका थिए । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
लोप हुँदै वन कुकुर काठमाडौं। वन कुकुर (ढोँले) विश्वभर पाइने ‘क्यानिड्स’ परिवारको लोपोन्मुख स्तनधारी प्रजाति हो । पारिस्थितिकीय प्रणाली र जैविक विविधता सन्तुलनमा महत्वपूर्ण भूमिका खेल्ने वन कुकुर पछिल्लो समयमा लोप हुने अवस्थामा पुगेको छ । लोप हुने अवस्था पुगेपछि पछिल्लो समय यसको खोजी, अनुसन्धान हुनुका साथै यसको संरक्षणका लागि विश्वका केही मुलुकबाट वैज्ञानिक, अभियन्ता र विज्ञहरू लागि परिरहेका छन् । यसै सन्दर्भमा क्यानडिड स्पेसलिस्ट ग्रुपअन्तर्गतको ढोल वर्किङ ग्रुपको आयोजनामा हालै नेपालमा सप्ताहव्यापी दोस्रो ‘अन्तर्राष्ट्रिय वन कुकुर’ सम्मेलन नेपालमा सम्पन्न भएको छ । यस अघि यस्तो पहिलो सम्मेलन सन् २०१९ मा थाइल्याण्डमा भएको थियो । यही जेठ १८ देखि २४ गतेसम्म चितवनको सौराहामा भएको सम्मेलनमा वन कुकुर संरक्षणका काम गरिरहेका विभिन्न १३ देशका ४० जना वन कुकुर संरक्षणकर्मीको सहभागिता रहेको थियो । सम्मेलनले वन कुकुर संरक्षण कार्ययोजना बनाई कार्यान्वयनमा लैजाने निष्कर्ष निकालेको छ। सम्मेलनमा वन कुकुरको अवस्था, सङ्ख्या वितरण, आहारको उपस्थिति तथा संरक्षणका लागि गर्नुपर्ने कार्ययोजनाका बारेमा छलफल भएको ग्रुपका नेपाल संयोजक डा अम्बिका प्रसाद खतिवडाले जानकारी दिए। यसले सरकारलाई नीतिगत सहयोग पुग्ने उनको विश्वास छ । सन् २०१५ को तथ्याङ्कअनुसार विश्वभर दुई हजार पाँच सयको हाराहारीमा वन कुकुर रहेको अनुमान छ । नेपालमा यो वन्यजन्तु यति नै सङ्ख्यामा छन् भन्ने यकिन नभए पनि सयदेखि दुई सयको हाराहारीमा रहेको अनुमान गरिएको छ । वन कुकुर नेपालसहित भारत, चीन, बङ्लादेश, भुटान, कम्बोडिया, इन्डोनसिया, मलेसिया, म्यानमार, थाइल्यान्ड र लाओस् गरी ११ वटा देशमा पाइएको बताइन्छ । नेपालको तराईमा चितवन, पर्सा, बर्दिया तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाइन्छ भने उच्च भूभागमा कञ्चनजङ्घा संरक्षण क्षेत्र, रारा राष्ट्रिय निकुञ्ज, खप्तड राष्ट्रिय निकुञ्ज तथा ढोरपाटन शिकार आरक्ष क्षेत्र एवं हुम्लाको लिमी भ्यालीमा पाइएको यस वन्यजन्तुका विषयमा विद्यावारिधी गरेका डा खतिवडाले बताए। यी जनवार चुरे क्षेत्रमा बढी देखिएका छन् । वन कुकुर अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको र नेपालको ‘लोपोन्मुख संरक्षण स्थिति’ मा सूचीकृत छ । शारीरिक संरचना र आनीबानीको रूपमा कुकुर र ब्वाँसो छुट्टिइसकेकाले ‘वन कुकुर ब्वाँसो होइनन् र ब्वाँसो वन कुकुर होइनन्।’ वन क्षेत्रको विनाशले वासस्थान अतिक्रमण, आहाराजन्य प्रजातिको कमी एवं विष तथा पासो थापेर मार्ने प्रवृत्तिको वृद्धिलगायतका कारणले यो प्राणी लोप हुने अवस्थामा पुगेको उनको भनाइ छ । राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख रचना शाहका अनुसार शिकारी प्रजातिको वन कुकुरको संरक्षणमार्फत यसका आहारजन्य प्रजातिको नियमनमा सघाउ पुग्ने भएकाले पनि यसको संरक्षण आवश्यक छ । यस विना आहाराजन्य प्रजातिको वृद्धि अनियन्त्रित भई वन्यजीव–मानव द्वन्द्व अझ बढ्न सक्ने बताइन्छ । वन कुकुर उभिँदा १७–१२ इञ्च र लम्बाइमा तीन फिटसम्मका हुने गर्दछन् । सामान्यतया पानीको स्रोत आसपास रहेका साधारण गुफा, जटिल गुफा, चट्टानको मुनि यिनीहरूको बसोबास देखिन्छ । औसत पाँचदेखि १० सङ्ख्याको समूहमा रहने यी वन कुकुर भने अन्य कुकुर प्रजाति (अफ्रिकी जङ्गली कुकुरसहित) भन्दा शान्त स्वभावका हुन्छन् । यिनीहरू एकान्तप्रेमी हुने हुँदा मानिसको वरपर निकै कम देखिने गर्दछन् । वन कुकुरमा स्नातकोत्तरको शोधकर्ता तुष्णा रायमाझी हालसम्म यस क्षेत्रमा भएका अध्ययनले यसको सङ्ख्या निर्धारण र बासस्थान क्षयीकरण बारेमा पर्याप्त जानकारी हासिल गर्न नसकेको बताउँछिन्। यसको संरक्षण गरेर पर्यटनसँग पनि जोड्न सकिने उनको धारणा छ । वन कुुकुरका अर्का अध्ययनकर्ता अस्मिता पाण्डे यसको संरक्षणका लागि संरक्षण कार्ययोजना आवश्यक रहेको जोड दिँदै वन कुुकुर देखिएका स्थानमा सम्बन्धित स्थानीय तहसँग मिलेर जनचेतनामूलक कार्यक्रमलाई अघि बढाउनुपर्ने बताउँछिन्। वन कुुकुर अधिकांश शिकार पानीको स्रोत आसपास नै गर्ने गर्दछन् । यसको शिकारमा मुसा प्रजातिदेखि जरायो, चित्तल, जङ्गली बदेल, रतुवा, गौरी गाईलगायत सम्म पर्छन् । हिमाली भेगमा पाइने वन कुुकुरले भने चरनमा लगिएका भैँसी, गाई, भेडा, बाख्रा, आदिको शिकार गर्ने गरेको देखिन्छ । वन कुकुरले धेरैजसो पाका र रोगले कमजोर भएका वन्यजन्तुको शिकार गर्ने गर्छ । स्वास्थ्य पोथी वन कुकुरले बढीमा १२ वटासम्म बच्च जन्माएको पाइएको छ । यसको गर्भावस्थाको अवधि करिब दुई महिनाको रहने यस क्षेत्रका जानकारको भनाइ छ ।
दिनदिनै नयाँ ‘रेकर्ड’ बनाउँदै नवलपुरको तापक्रम नवलपुर। तराईमा गर्मी बढ्दै जाँदा मध्यनेपालमा पर्ने तराईको जिल्ला नवलपरासी (बर्दघाट-सुस्तापूर्व) नवलपुरले दिनदिनै तापक्रममा नयाँ ‘रकर्ड’ बनाउँदै आएको छ। यसअघिका वर्षमा नेपालगञ्ज, वीरगञ्ज, धनगढीलगायत सहरको तापक्रम देशकै सबैभन्दा बढी मापन गरिएको भए पनि यसवर्ष नवलपुरले उच्च तापक्रममा नयाँनयाँ ‘रेकर्ड’ बनाउँदै आएको छ। जल तथा मौसम विज्ञान विभागले हरेक २४ घण्टामा सार्वजनिक गर्ने देशको उच्च तापक्रममा नवलपुरको दुम्कौलीले दिनदिनै नयाँ रेकर्ड बनाउँदै आएको हो। विभागको हावापानी विज्ञान महाशाखाले वैशाख ६ गतेदेखि देशको तापक्रम सार्वजनिक गर्न सुरु गरेको थियो। सोही दिन नवलपुरको दुम्कौलीको तापक्रम देशकै सबैभन्दा बढी ४२ दशमलव आठ डिग्री सेल्सियस मापन गरिएको विवरणमा उल्लेख गरिएको छ। विभागले देशभरको अधिकतम तापक्रम सार्वजनिक गर्न सुरु गरेपछि बीचमा फाट्टफुट्ट केही जिल्लाको तापक्रम उच्च मापन गरिएको भए पनि धेरै समय नवलपुरले नयाँ नयाँ रेकर्ड बनाउँदै आएको छ। नवलपुरको दुम्कौलीमा वैशाख १० र ११ गते ३८ दशमलव आठ, १४ गते ३८, १५ गते ३८ दशमलव आठ, २४ गते ३९ दशमलव आठ, २५ गते ४१ दशमलव आठ, २७ गते ४२ दशमलव आठ, २८ र २९ गते ४१ दशमलव आठ, ३१ गते ४१ डिग्री सेल्सियस तापक्रम मापन भएको छ। यो मापन गरिएको तापक्रम त्यस दिनमा देशकै सबैभन्दा उच्च तापक्रम हो। जेठ १ गते जिल्लामा ४१ डिग्री सेल्सियस रहेको तापक्रम जेठ २ मा घटेर ४० तथा जेठ १० मा अझ घटेर ३९ डिग्री सेल्सियस पुगेको भए पनि त्यस दिनमा यो तापक्रम देशकै उच्च तापक्रम भएको विभागले जनाएको छ। जेठ १० पछि उच्च तापक्रम भएका स्थानमा तराईका अन्य जिल्ला मापन गरिएको भए पनि जेठ १९ गते एकाएक नवलपुरको दुम्कौलीको तापक्रम ४३ डिग्री सेल्सियस मापन भयो। जेठ १९ पछि हालसम्म नवलपुरको अधिकतम तापक्रम देशका अन्य स्थानको भन्दा बढी मापन भइरहेको छ। जेठ २० गते ४३, २१ गते ४२ दशमलव आठ, २२ गते ४३ दशमलव आठ डिग्री सेल्सियस तापक्रम मापन भएको छ। जेठ २२ गते नवलपुरमा त्यसबेलासम्मको सबैभन्दा बढी तापक्रम हुने आफ्नो जिल्लाको ‘रेकर्ड ब्रेक’ भएको थियो। त्यसअघि जिल्लाको अधिकतम तापक्रम सन् १९७९ मा ४३ दशमलव सात डिग्री सेल्सियस मापन गरिएको थियो। जेठ २३ मा तापक्रम घटेर ४२ दशमलव आठ डिग्री पुगेको भए पनि त्यस दिन यो तापक्रम देशकै उच्च तापक्रम मापन भएको विभागले जनाएको छ। जेठ २४ र २५ गते यहाँको तापक्रम ४३ दशमलव आठ डिग्री सेल्सियस पुगेको थियो। नवलपुरले उच्च तापक्रमको आफ्नो रेकर्ड पुनः ‘ब्रेक गर्दै’ जेठ २६ गते यहाँको तापक्रम ४४ डिग्री सेल्सियस पुग्यो । विभागले हरेक २४ घण्टामा देशभरको उच्च तापक्रम सार्वजनिक गर्दै आएको छ। नवलपुरको तापक्रम वृद्धि भएर तराईका अन्य जिल्लालाई माथ दिइरहँदा यहाँको जनजीवन प्रभावित भएको छ। अत्यधिक गर्मीका कारण खेतबारीमा लगाएका मकै सुक्न थालेका देवचुली-१७ का कृषक देवनारायण महतोले बताए। गर्मी अधिक भएपछि यस क्षेत्रमा दिउँसोको समयमा मानिस घरभित्रै बस्ने गरेका र घरायसी कामकाज बिहानबेलुकी गरेर गर्दै आएको महतोले बताए।रासस
आजको मौसम: तराईमा तापक्रम नघटने, तीनवटा प्रदेशमा पानी पर्ने संभावना काठमाडौं। हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। कोशी प्रदेशको एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षा भइरहेको छ। दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश तथा कर्णाली प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। राति कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश तथा कर्णाली प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। देशका तराइका भू-भागहरूमा अधिकतम र न्यूनतम तापक्रम केही दिन नघट्ने देखिन्छ जसका कारण सो भू-भागहरूमा तातो हावा लू चलिरहेको अवस्था छ। कोशी, गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। तसर्थ, अत्याधिक गर्मी तथा मेघ-गर्जन/चट्याङबाट हुन सक्ने जोखिम वा क्षति बाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ।
स्वयंसेवी रक्तदान र सहज ब्यवस्थापन बिषयमा अन्तरकृया कार्यक्रम सम्पन्न काठमाडौं। विश्व रक्तदाता दिवसको अवसरमा ब्लड डोनर्स एसिशियसन नेपाल (ब्लोदान)को आयोजनामा परोपकार प्रसूती तथा स्त्री रोग अस्पतालमा स्वयंसेवी रक्तदान र सहज ब्यवस्थापन बिषयमा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ। परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालका निर्देशक डा. श्री प्रसाद अधिकारीको प्रमुख अतिथ्यता, ब्लोदानका केन्द्रिय अध्यक्ष इ. सानुबाबु प्रजापतिको सभापतित्वमा सम्पन सो कार्यक्रममा वीर अस्पतालबाट डा. निरज सिङ, केन्द्रिय रक्तसञ्चार सेवाबाट निर्देशक दिब्यराज पौडेल, कान्तिपुर अस्पतालका इन्चार्ज टिकाराम मण्डल लगायत सहभागी थिए। कार्यक्रममा बोल्दै टिकाराम मण्डलले रगत माग गर्दा प्रक्रिया नपुगेको देखिएको र लगेको रगत सबै खपत नभएमा सम्बन्धित रक्तसञ्चार सेवामा फर्काइदिएमा अभाव कम हुने बताए। उनले शनिबार बढी रगत संकलन हुने भएकोले अन्यबारहरुमा पनि नियमित गर्नु पर्ने आवश्यकता रहेको औंल्याए। त्यस्तै परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालका पर्शुराम दाहालले रगत ब्यवस्थापनमा अस्पतालको बढी भुमिका रहने भएकाले ब्यवस्थापनमा ध्यान दिन सकेमा रगत ब्यवस्थापन गर्न सहज हुने बताए। सोही कार्यक्रममा केन्द्रिय रक्तसञ्चारका पुर्व निर्देशक डा. मनिरा राजकर्निकारले समयमा रगत ब्यवस्थापन हुन नसकेकोमा बिरामीको उपचारमा समस्या आउने बताइन्। रगतको संकलन परिक्षण गर्दासम्म गुणस्तरमा ध्यान दिनुपर्ने उनको भनाई थियो। विश्व रक्तदाता दिवसको साताव्यापी कार्यक्रम अन्तर्गत शनिबार विहान ७ बजे चःमति चोक खुसीबुबाट बलम्बुसम्म जनचेतनामुलक साइकल र्‍याली गर्ने भएकाले सहभागीताको लागि ब्लोदानले आह्वान गरेको छ।
आफ्नै ‘रेकर्ड ब्रेक’ गर्दै नवलपुरको तापक्रम पुग्यो ४४ डिग्री नवलपुर। दुई दिनअघि नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरमा मापन भएको देशकै सबैभन्दा बढी तापक्रम आज पुनः ‘ब्रेक’ भएको छ । जल तथा मौसम विज्ञान विभागले आज सार्वजनिक गरेको पछिल्लो २४ घण्टाको मौसमको विवरणअनुसार नवलपुरको दुम्कौलीमा तापक्रम ४४ डिग्री सेल्सियस मापन गरिएको हो । यसअघि जेठ २४ गते दुम्कौलीमा अधिकतम तापक्रम ४३ दशमलव आठ डिग्री सेल्सियस मापन गरिएको थियो । जेठ २४ र २५ गते स्थिर रहेको यहाँको तापक्रम बढेर पुनः देशकै सबैभन्दा बढी मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागको हावापानी विज्ञान महाशाखारहावापानी विश्लेषण शाखाका अनुसार देशभरका विभिन्न ८३ ठाउँको तापक्रम मापन गरिएको छ । विभागका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न २२ स्थानमा ४० डिग्रीभन्दा बढी तापक्रम मापन गरिएको छ । मापन गरिएकामध्ये २३ स्थानको तापक्रम ३५ देखि ४० डिग्री, २९ स्थानमा ३० देखि ३५ डिग्री सेल्सियस तापक्रम मापन भएको विभागले सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएको छ । विभागका विभिन्न दुई सय ७२ केन्द्रमध्ये ४० वटा केन्द्रले वर्षा मापन गरेको जनाइएको छ । पछिल्लो २४ घण्टामा झापाको अनारमनी बिर्ता केन्द्रमा सबैभन्दा बढी ६३ दशमलव दुई मिलिमिटर वर्षा मापन गरिएको विभागको विवरणमा उल्लेख छ । चालीस मिलमिटरभन्दा बढी वर्षा मापन एक स्थानमा, २५ मिलिमिटरभन्दा बढी वर्षा चार स्थान तथा १० मिलिमिटरभन्दा बढी वर्षा सात स्थानमा मापन गरिएको विभागले जनाएको छ ।
गोरखाको रानीपोखरीमा डुबेर एक बालकको मृत्यु गोरखा । गोरखा सदरमुकामको पदेलीस्थित रानीपोखरीमा डुबेर शुक्रबार एक बालकको मृत्यु भएको छ । धार्चे गाउँपालिका–५ सिङ्लाका आठ बर्षिय मनिष गुरुङको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । करिब पाँचबजे उनीसहित चार जना पोखरीमा पौडी खेल्न गएकोमा पोखरीमा डुबेर गुरुङ उत्रन नसकेपछि साथीहरूले हारगुहार गरेका थिए । स्थानीय र प्रहरीको सहयोगमा गुरुङलाई पोखरीबाट निकालेर गोरखा अस्पताल लगिए लगतै चिकित्सकले मृत घोषणा गरेका थिए ।
यसपालि तापक्रमले धेरै ठाउँमा ‘रेकर्ड ब्रेक’गर्दै काठमाडौं। यसपालि नेपालका धेरैजसो स्थानमा अधिकतम तापक्रमले ‘रेकर्ड ब्रेक’ गर्ने देखिएको छ। केही स्थानमा रेकर्ड ब्रेक भइसकेको र अझै तातो हावाको लहर (लु) जारी रहने देखिएकाले थप रेकर्ड ब्रेक हुने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताए। उनका अनुसार यस वर्ष यही जेठ २४ गतेसम्मको तथ्याङ्कमा सबैभन्दा बढी ४३ दशमलव आठ डिग्री तापक्रम रेकर्ड भएको छ। सन् २०२३ को यो सबैभन्दा बढी मापन हो। यसअघि नेपालमा सन् १९९५ को जुन ५ मा धनगढीमा ४६ दशमलव चार डिग्री तापक्रम मापन भएको थियो। यो नेपालकै सबैभन्दा बढी मापन हो। यसपालि तराईका जिल्लाका साथै पहाडी क्षेत्रमा पनि विगत केही वर्षको तुलनामा रेकर्ड ब्रेक भएको पाइएको छ। नेपालमा जेठ १६ गतेदेखि तापक्रम बढ्न थालेकामा पछिल्ला तीन दिनदेखि भने तापक्रम ह्वात्तै बढेको छ। यो क्रम तराईका क्षेत्रमा बढी देखिएको छ। अहिले ती क्षेत्रका अधिकांश स्थानमा ४० डिग्रीभन्दा माथि नै तापक्रम रहेको छ। तातो हावाको लहर बढेपछि जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले यही १९ गते पहिलो पटक तातो हावाको लहरसम्बन्धी विशेष बुलेटिन जारी गरेर जानकारी गराएको थियो। त्यसपछि २४ गते अर्को बुलेटिन जारी गरेर सचेत गराएको थियो। मौसमविद् शान्ति कँडेलले सन् २०२३ को तापक्रम विश्लेणण गर्दा धेरै स्थानमा अधिकतम तापक्रमको ‘रेकर्ड ब्रेक’ भइसकेको बताए। नवलपुरको दुम्क्यौलीमा ४३ दशमलव आठ डिग्री ताफक्रम पुगेको र बुधबारसम्मको तथ्याङ्कमा यो रेकर्ड यस वर्षकै सबैभन्दा बढी मापन हो। नवलपुरको दुम्क्यौलीमा भने पहिलो पटक ‘रेकर्ड ब्रेक’ भएको हो। यसअघि त्यहाँ सन् १९७९ मा ४३ दशमलव ७ डिग्री तापक्रम पुगेको थियो। उनका अनुसार तराईमा मात्रै होइन पहाडी क्षेत्रमा पनि तापक्रमले ‘रेकर्ड ब्रेक’ गरेको छ। ओखलढुङ्गामा सन् १९९९ मा सबैभन्दा बढी ३० दशमलव ९ डिग्री तापक्रम रेकर्ड भएकामा यसपालि त्यहाँ पनि ‘रेकर्ड ब्रेक’ भएर ३१ दशमलव नौ डिग्री पुगेको छ। धरानमा सन् २०१३ मा सबैभन्दा बढी ३८ दशमलव आठ डिग्री तापक्रम मापन गरिएकामा यसपालि सन् २०२३ को जुन ७ (हिजो बुधबार) ३९ दशमलव तीन डिग्री पुगेको थियो। यस्तै इलामको कन्याममा सन् १९९३ मा २९ डिग्री रेकर्ड भएकामा यसपालि यही ५ तारिखमा ३० डिग्री मापन भई ‘रेकर्ड ब्रेक’ भएको कँडेलले बताए। यसपालि मुलुकका सबैजसो भूभागमा औसतभन्दा कम वर्षा हुने र तापक्रम बढ्ने अनुमान यसअघि नै सार्वजनिक गरिएको थियो। मनसुन १३ जुनमा प्रवेश गर्ने औषत समय भए पनि एक दुई दिन ढिला हुने देखिएको छ। मनसुन अहिले भारतको केरला आइपुगेको छ। यसपटक मनसुन भित्रिए पनि केही दिन पानी परेर फेरि सुक्खा हुने देखिएको मौसमविद्को भनाइ थियो। अर्का मौसमविद् विनु महर्जनले नेपालको पूर्वी भेगमा आज केही मौसममा बदली भए पनि अन्य क्षेत्रमा तापक्रम बढी नै रहेको बताए। उनका अनुसार यो समाचार तयार पार्दा कपिलवस्तुको तौलिहवामा ४२ डिग्री तापक्रम छ। यस्तै चितवनको रामपुरमा ४१ दशमलव सात, सिमरामा ४१ दशमलव एक, जनकपुरमा ४० दशमलव सात डिग्री तापक्रम छ। काठमाडौँमा हिजोको तापक्रम ३२ दशमलव आठ पुगेकामा अहिले भने ३१ डिग्री रहेको जनाइएको छ। विगतमा काठमाडौँमा ३६ दशमलव छ डिग्रीसम्म तापक्रम रेकर्ड भएको अभिलेख छ। मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिनमार्फत काठमाडौँ उपत्यकालगायत देशका अन्य उपत्यकामा समेत तापक्रममा क्रमिक वृद्धि भइरहेको र तराई भू–भागमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन भएको उल्लेख गरेको छ। विभागले यस्तो अवस्थामा आगामी केही दिनसम्म देशभरिको तापक्रमको अवस्था तथा विश्लेषणअनुसार तराईका धेरैजसो भू–भागहरूमा अधिकतम र न्यूनतम तापक्रम क्रमिकरुपमा बढ्ने देखिन्छ। हालको तल्लो र उपल्लो वायुमण्डलको अध्ययन र विश्लेषणअनुसार नेपालमा यस वर्षको मनसुनको आगमन हुन अझै केही दिन लाग्ने देखिन्छ। तसर्थ देशका तराई भू–भागमा आगामी पाँच दिनसम्म तातो हावाको सम्भावना यथावत् रहने देखिएकाले सोबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरिएको छ। पहाडी भू–भागका उपत्यका तथा खोँचहरूमा समेत तापक्रम क्रमिक रुपमा बढ्न सक्ने सम्भावना देखिएको मौसमविद्ले बताए। यस्तो हुनसक्छ असर तातो हावाका कारण थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुनसक्छ। तातो हावाबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्किँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिनुपर्ने चिकित्सक डा पवनकुमार शाहले बताए। तालो हावाको लहरका सम्बन्धमा आज राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज पहिलोपटक छलफल गरेको छ। उक्त छलफलका सहभागीहरुले अब शीतलहरका लागि पनि नयाँ कार्ययोजना बनाएर अघि बढ्नुपर्ने सुझाव दिएका थिए। प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले प्राप्त सुझावलाई कार्यान्वयन गर्न आजदेखि आवश्यक तयारी थाल्ने र कार्ययोजना बनाएर लागू गर्ने प्रतिबद्धता जनाए। नारायण ढुङ्गाना\रासस
ईसेवा मनि ट्रान्सफरको बम्पर विजेता पूर्ण बहादुर श्रेष्ठ नेपाल आउँदै ! काठमाडौँ। डिजिटल रेमिट्यान्स कम्पनी ईसेवा मनि ट्रान्सफरले सञ्चालन गरेको ‘मेरो डिजिटल देश’ अभियानमा पूर्ण बहादुर श्रेष्ठले काठमाडौमा घर जित्न सफल भएका छन्। जेठ १२ शुक्रबार, लुलु एक्स्चेन्ज र ईसेवा मनि ट्रान्सफरको समन्वयमा लुलु शाखा,सारजाहमा विशेष कार्यक्रम गरी विजेता श्रेष्ठलाई बधाई ज्ञापन गरिएको थियो र ईसेवा मनि ट्रान्सफरका, सम्बन्ध प्रबन्धक, ईश्वर अधिकारिले उक्त कार्यक्रममा पूर्ण बहादुर श्रेष्ठलाई नेपालमा हुने विशेष हस्तान्तरण समारोहमा निमन्त्रणा पनि दिएका छन्। कार्यक्रममा लुलुका उपमहाप्रबन्धक फैसल अहमद; संचालन प्रमुख रघुपति वेन्कीटाकृष्णन, संचालन प्रमुख डिजिटल हरेश पिल्लै, मिडिया तथा मार्केटिङ प्रबन्धक अजिम उम्मेर र शाखामा अन्य ग्राहकहरूको उपस्थिती थियो। विजेता श्रेष्ठले ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं ४ इमाडोल, बोजेपोखरीमा ३ आना क्षेत्रफलमा बनेको साढे दुईतल्लाको घर जित्न सफल भएका हुन्। पूर्ण बहादुर श्रेष्ठले लुलु एक्स्चेन्ज, युएइ बाट ईसेवा मनि ट्रान्सफर मार्फत बैंक खातामा रेमिट्यान्स् पठाएका थिए। ईसेवा मनि ट्रान्सफरले विदेशबाट आउने रेमिट्यान्सलाई बैधानिक बनाउन प्रोत्साहन गर्ने उदेश्यले ‘मेरो डिजिटल देश’ अभियान सार्वजनिक गरेको थियो। डिजिटल रेमिट्यान्स्लाई प्रोत्साहन गर्दै आएको कम्पनीले ‘मेरो डिजिटल देश’ अभियान मार्फत विश्वका जुनसुकै मुलुकमा रहेका नेपालीले नेपालमा इच्छाएको व्यक्तिको बैंक खाता वा इसेवा वालेटमा पैसा पठाउँदा एक जनालाई बम्पर उपहार स्वरुप काठमाडौंमा साढेदुई तलाको घर दिने घोषणा गरेको थियो। ७ असोजदेखि जेठ ६ गतेसम्म रेमिट्यान्स् पठाउने व्यक्तिहरू यस अभियानमा सहभागी भएका थिए। ‘मेरो डिजिटल देश’ अभियान अन्तर्गत हरेक महिना सेवाग्राहीको घर सम्म पुगी आकर्षक उपहार समेत प्रदान गरेका थियौं।
हवाई टिकट बिक्रीमा ह्याकरको अनाधिकृत प्रवेश भएपछि सचेत गराउन थालियो काठमाडौं। हवाई टिकट बिक्रीमा ह्याकरको अनाधिकृत प्रवेश भएपछि यस्ता घटनाबाट जोगिन सम्बन्धित सेवा प्रवाह गर्ने निकायलाई सचेत गराउन थालिएको छ। उक्त घटना सार्वजनिक भएपछि प्रहरीको साइबर ब्यूरोले नेपाल पर्यटन बोर्डलाई पत्र नै काटेर सचेतनाका लागि आवश्यक समन्वय गर्न अनुरोध गरेसँगै बोर्डले सचेत गराउन थालेको छ । “पछिल्ला दिनमा हवाई टिकट बिक्रीमा ह्याकरको अनधिकृत प्रवेशका घटना बढी रहेको हुँदा सो सम्बन्धमा सुरक्षित रहन सम्बन्धित टिकेटिङ गर्ने ट्राभल एजेन्सीलगायतका कार्यालयलाई समयमै सचेतनाका लागि जानकारी गराई दिनुहुन अनुरोध छ”, ब्यूरोले बोर्डलाई पठाएको पत्रमा भनिएको छ । अनुसन्धानको सिलसिलामा आवश्यक सूचना माग गरेको बखत यथाशीघ्र तोकिएको ढाँचामा उपलब्ध गराउनका लागि सम्बन्धित एअरलाइन्स तथा सोसँग सम्बद्ध सफ्टवेयर कम्पनीसँग समन्वयकारी भूमिकाका लागि अनुरोध गरिएको छ । सोही आधारमा नेपाल पर्यटन बोर्डले आवश्यक सचेतनाका क्रियाकलाप अघि बढाएको छ । सेवाप्रदायक निकायलाई आवश्यक सचेत गराउने, सुरक्षित रहन तथा जथाभावी आफ्नो गोप्य जानकारी शेयर नगर्न र यकीन गरेर मात्रै कारोबार गर्न सम्बन्धित निकायलाई सचेत गराइएको बोर्डका निर्देशक मणिराज लामिछानेले जानकारी दिए। उनले सबै निकाय तथा सम्बद्ध व्यक्तिलाई सावधानीका समग्र उपाय अपनाउन सुझाव दिएको लामिछानेले बताए। घटनाका विषयमा अहिले साइबर ब्यूरोले अनुसन्धान पनि गरिरहेको छ । ब्यूरोमा परेको जाहेरीका आधारमा अनुसन्धान थालिएको प्रहरी उपरीक्षक पशुपतिकुमार रायले बताए । उनले  घटना थप नघटोस् भनेर पर्यटन बोडलाई पत्राचार गरेरै सचेत गराउने भनिएको पनि बताए। केहीअघि कस्मो नेपाल ट्राभल्सलगायत तीन वटा संस्थाको ‘युजर नेम’बाट अनधिकृतरुपमा लाखौँको टिकेट काटिएको सार्वजनिक भएको छ । हवाई टिकट बिक्री वितरण गर्ने कम्पनीलाई लक्षित गरी ह्याकरले ‘फिसिङ’का माध्यमबाट लग इन नेम र पासवर्डमा अनाधिकृत पहुँच पु¥याइ विदेशी टिकट ‘इस्यु’ गरेको पाइएको थियो।रासस
भारतबाट तरकारी भित्रिँदा बारीमै सुक्यो किसानको तरकारी तुलसीपुर। दाङको तुलसीपुर उपमहानगरपालिका–११ मोतिपुरका राजेश डाँगी टन्टलापुर घामको प्रवाह नगरी आफ्नो खेतबारीमा पुग्छन्। उनलाई गमीले गर्दा निस्केको पसिनाको कुनै प्रवाह छैन। पसिना पुछ्दै बारीमा पुग्दा पनि उनमा उत्साह छैन। उनले १७ कट्ठामा लगाएको बन्दा यस वर्ष काम नलाग्ने भयो। बिक्री नभएपछि बस्तुभाउलाई खुवाउनुपर्ने बाध्यता आयो। “१७ कट्ठामा लगाएको हुँ, एउटा पनि बिक्री भएन”, उनले भने, “अब गाई, बाख्रालाई खुवाउनुभन्दा विकल्प भएन।” उनले यसरी खेती गर्न लागेको १० वर्षभन्दा बढी भयो। गएको वर्ष बन्दा राम्रै बिक्री भएको थियो। त्यही भएर पनि यस वर्ष हौसिएर उनले १७ कट्ठामा खेती गरेका हुन्। “गत वर्ष राम्रै माग भएको थियो, बिक्री पनि राम्रै भएको थियो”, उनले भने, “त्यही भएर मैले यस वर्ष धेरै क्षेत्रमा यो खेती गरेको हुँ ।” गएको वर्ष उनले १० कट्ठामा मात्रै बन्दा खेती गरेका थिए। भारतबाट आउने तरकारीले गर्दा यहाँको बन्दा बिक्री नभएको उनको गुनासो छ। “सबै भारतबाट आइहाल्छ”, उनले भने, “त्यसले गर्दा हामीले उत्पादन गरेको तरकारीले बजार पाउँदैन।” त्यस्तै सोही ठाउँका किसान डम्बरकुमारी खत्रीको पनि बारीमा सुक्दै गरेको बन्दा देख्दा मन कुँडिन्छ। कृषि प्रधानदेशमा किसानले लगाएको तरकारी नै बिक्री नहुनाले मुलुक कता जाँदैछ भन्ने चिन्ताले पिरोल्ने गरेको उनी बताउँछिन्। “कृषि प्रधान देश भन्छन्, हामीले लगाएको तरकारी बारीमै सुक्छ”, उनले भनिन्, “तरकारी बिक्री नभए पनि नसुक्ने, नबिग्रिने गरेर राख्न मिल्ने र प्रशोधन गरी अचारजस्ता कुरा बनाउने गरी सरकारले व्यवस्था गर्नुपथ्र्यो।” गत वर्ष व्यापारी बारीमा लिन आउने गरेको भए पनि यस वर्ष किन्नसमेत नमानेको उनको भनाइ छ। यस्तै भइरहेमा अर्को वर्ष खेती गर्ने कि नगर्ने भन्ने कुराले आफूलाई दोधारमा परेको उनको भनाइ छ। उनीहरुजस्तै जिल्लामा बन्दा खेती गर्ने किसानको हालत त्यस्तै छ। रु पाँच किलोमा बिक्री गर्न खोज्दा पनि बिक्री नभएर गाईबस्तुलाई खुवाउनुपर्ने अवस्था आएको उनको भनाइ छ। खेती गर्दा रु एक डेढलाख लगानी भए पनि त्यो लगानी उठाउनसमेत हम्मे–हम्मे परेको उनले बताइन्। – रासस
दाङबाट जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ दाङ। दाङको लमही नगरपालिका-४ बाट जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ परेका छन्। नगरपालिका-४ शान्तिनगरस्थित कुशल होटलमा जुवातास खेलिरहेको अवस्थामा होटल संचालक सोही ठाउँ बस्ने ४० वर्षीया पार्वती खड्कासहित ५ जनालाई  प्रहरीले पक्राउ गरेको हो। विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय लमही दाङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९८ हजार ३० रूपैयाँ र १ बुक ताससहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
२९ जना जिल्ला न्यायाधिसका लागि जागिर खुल्यो काठमाडौँ। जिल्ला न्यायाधिसका लागि जागिर खुलेको छ। न्याय सेवा आयोगले २९ जना जिल्ला न्यायाधीश नियुक्तिका लागि जागिर खुलाएको हो। आज एक बिज्ञापन प्रकाशित गर्दै न्याय सेवा आयोगले आन्तरिक खुलाबाट १५ जना, खुलामा ७ जना, महिला २ जना, आदिवासी/जनजाती २ जना, मधेशी २ जना र दलित १ जना गरी २९ जनाका लागि दरखास्त आव्हन गरेको हो। विज्ञापन प्रकाशन भएको दिन आजदेखि ३० दिनभित्र दरखास्त दिन सकिने आयोगले जनाएको छ। भदौंं १६ देखी भदौं २० सम्म परिक्षा हुने पनि जारी सुचनामा उल्लेख छ। दरखास्तका लागि २ हजार परीक्षा दस्तुर तोकिएको छ भने समावेशी पदका लागि थप ५ सय तिर्नुपर्ने हुन्छ।
लस एन्जलसमा महापुराणको आयोजना गरिँदै क्यालिफोर्निया। क्यालिफोर्नियाको लस एन्जलसमा आउने महिना जुलाइमा शिव महापुराण लगाइने भएको छ। श्री पशुपतिनाथ फाउण्डेशन, यू एश ए को अगुवाइमा सम्पूर्ण संघसंस्था तथा नेपालीभाषीहरुको सहयोग र सहभागितामा बाचन प्रविण पण्डित दीनबन्धु पोखरेलको प्रमुख वाचकत्वमा जुलाई ९ देखि १५ सम्म लस एन्जलस काउन्टी अन्तर्गत नरवाक शहरमा रहेको श्री पशुपतिनाथ तथा बुद्ध मन्दिरमा “लस एन्जलस आध्यात्मिक महोत्सव तथा शिव महापुराण २०२३” आयोजना गर्न लागिएको हो। श्री पशुपतिनाथ तथा बुद्ध मन्दिर संयुक्त राज्य अमेरिकामै नेपाली समुदायद्वारा निर्मित धार्मिक स्थल हो जहाँ हरेकजसो नेपाली चाडपर्वहरू धुमधामका साथ मनाइँदै आइएको छ। नियमित पुजाआजाका अतिरिक्त विभिन्न धार्मिक तथा सांस्कृतिक अनुष्ठानको केन्द्रका रूपमा स्थापित यो मन्दिरमा हुँदै आइरहेका विशेष कार्यक्रमहरूमा सयौंको संख्यामा नेपाली समुदायको जमघट हुने गरेको छ। नयाँ पुस्तामा नेपाली बोलचाल र लेखनको अभ्यासका लागि मन्दिरमा हरेक आइतबार नेपाली पाठशाला पनि सञ्चालन हुँदै आइरहेको छ। क्यालिफोर्नियामा नेपाली संस्कार र संस्कृतिको प्रवर्धन, निरन्तरता र विस्तारको उद्देष्यका साथ स्थापित यो मन्दिरमा नेपाली समुदायको पहलमा विभिन्न कार्यक्रमहरु हुँदै आइरहेका छन्। यस्ता कार्यक्रममा हुने व्यापक जनसहभागिताका कारण यो क्षेत्रमा सामुदायिक भवनको अत्यन्त आवश्यकता देखिएको भन्दै श्री पशुपतिनाथ फाउण्डेशन, यू एश ए, यसको तयारीका लागि जुटिरहेको छ। यसै सिलसिलामा सामुदायिक भवन निर्माणार्थ महापुराणको आयोजना गरिएको फाउण्डेसनका अध्यक्ष रामेश्वर भण्डारीले जानकारी दिए। यो विशेष धार्मिक अनुष्ठानको तयारीमा तिव्रता दिदै संस्थाका निबर्तमान अध्यक्ष मुकुन्द ढुंगानाको संयोजकत्वमा महापुराण मूल समारोह समिति तथा कार्यक्रमलाई सफल बनाउन समाजसेवी वेद भक्त जोशी तथा नेपाल सरकारका अवैतनिक महाबाणिज्यदूत ऋषि ढकाल रहेको सल्लाहकार समिति सहित विभिन्न समितिहरू बनाइएको फाउण्डेसनका सचिव डिल्ली (सिद्धार्थ) सिलवालले बताए। नेपाली संस्कृतिको जगेर्ना, प्रबर्धन र विस्तारका लागि सामुदायिक भवनको सपना साकार बनाउन लागी परिरहेको मन्दिर व्यवस्थापन समितिले महापुराणमा सहभागी हुन अमेरिकामा रहेका सम्पूर्ण नेपालीलाई र बिशेष गरि क्यालिफोर्निया निवासी सम्पूर्ण समुदाय सदस्यहरूमा हार्दिक निमन्त्रणा दिएको छ।
आजको मौसमः अझै केही गर्मी यथावत् रहने काठमाडौं। हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। कोशी प्रदेश लगायत बागमती, लुम्बिनी, गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ सहित क्षणिक वा हल्का वर्षा भइरहेको छ। दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा र बाँकी प्रदेशको पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। राति पनि देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। पहाडी भू-भागको एक दुई स्थानहरुमा मेघगर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। देशका तराइका भू-भागहरूमा अधिकतम र न्यूनतम तापक्रम केही दिन नघट्ने देखिन्छ जसका कारण सो भू-भागहरूमा तातो हावा र लू चलिरहेको अवस्था छ। कोशी, गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। तसर्थ, अत्याधिक गर्मी तथा मेघगर्जन र चट्याङबाट हुन सक्ने जोखिम वा क्षति बाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुराेध गरेकाे छ।
आँखाको नानीमा नेपाल आत्मनिर्भर छ : नेपाल आँखा बैंक काठमाडौं । आँखा दान गर्नेको सङ्ख्या बढेसँगै  आँखाको नानीमा नेपाल आत्मनिर्भर बनेको नेपाल आँखा बैंकले बताएको छ । आँखा दानप्रतिको बद्लिँदो सकारात्मक सोचका कारण दाताको सङ्ख्या बढ्दै गएको बैंकका व्यवस्थापक शङ्करनारायण न्वयनाले बताए। आज यहाँ आयोजित ‘आँखादान तथा सामूहिक श्रद्धाञ्जलीसभा सम्बन्धी पत्रकार सम्मलेन’ मा सञ्चारकर्मीसँगको अन्तरक्रियामा उनले भने, “बैंकमा आँखाको नानी सुरुको अवस्थामा विदेशबाट झिकाइन्थ्यो भने अहिले आँखाको नानी देश भित्रबाटै सङ्कलन हुन्छ ।” उनका अनुसार अहिले बैंकले देशभित्र अन्य अस्पतालमा समेत प्रत्यारोपणका लागि आँखाको नानी उपलब्ध गराउँदै आएको छ । नेपाल आँखा बैंकमा हालसम्म एक लाखभन्दा बढी दाताले मृत्युपर्यन्त आँखाको नानी दान गर्ने प्रण गरिसकेको र भने १२ हजारभन्दा बढीले आँखाको नानी दान प्राप्त गरी पुनःदृष्टि प्राप्त गरेको उहाँले जानकारी दिए । बैंकले सन् १९९४ मा दुई दाताबाट आँखाको नानी सङ्कलन सुरु गरेको थियो । बैंकले हाल वार्षिक एक हजार तीन सय दाताबाट आँखाको नानी सङ्कलन गर्दै आएको छ । सन् २०१८ मा एक हजार एक सय ७८ दाता र सन् २०२२ मा एक हजार ४३ दाताबाट आखाँको नानी सङ्लग्न गरेर प्रत्यारोपण गरिएको छ । बैंकका निर्देशक डा लिना बज्राचार्यले आँखा दानप्रतिको बढ्दो सकारात्मक सोचका कारण दाताको सङ्ख्या बढेको बताए । उनले भने, “सुरुआतमा पशुपतिको आर्यघाटलगायत विभिन्न ठाँउमा गएर आँखा दानसम्बन्धी मानिसमा जनचेतना जगायौँ । अहिले मन्दिरदेखि अस्पतालसम्म दाताका आफन्तलाई ‘काउन्सिलिङ’ गरिरेहका छौँ । आँखा दानप्रतिको सोचमा सकारात्मक  परिवर्तन पाएका छौँ ।” आँखा दानसम्बन्धी सचेतना बढे पनि अन्धविश्वास चुनौती बनेको उनी बताउँछन् । “मृत्युपछि आँखाको नानी दान गर्नेको सङ्ख्या दोब्बरले बढेको छ । तर कतिपय अझै पनि अन्धविश्वासका कारण दान गर्न हिचकिचाउनुहुन्छ । उहाँहरूलाई हामी सक्दो काउन्सिलिङ गर्दै आएका छौँ”, उनले भने । नेपाल आँखा बैंकले सन् १९९४ देखि नै मृत्युपश्चात आँखाको नानी दान गर्ने दाताहरूबाट नानी सङ्कलन, परीक्षण र सञ्चयलगायत आवश्यक परेकालाई नानी उपलब्ध गराउने कार्य गर्दै आएको छ । बैंकले स्थानीय आँखा अस्पतालको समन्वयमा मेची, विराटनगर, लहान, हेटौँडा, भरतपुर, लुम्बिनी, पोखरा र कैलालीमा पनि क्षेत्रीय आँखा नानी सङ्कलन केन्द्रबाट आँखाको नानी सङ्कलन गरिरहेको छ । “अहिले यी सँगै आर्यघाट, विद्युतीय शवदाह गृहलगायत काठमाडौँमा रहेका चार वटा ठूला अस्पताल वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, गङ्गालाल मुटु अस्पताल र पाटन अस्पतालमा आँखा बैंकबाट खटाइएका परामर्शदाताबाट परामर्श तथा जानकारी दिने काम भइरहेको छ”, बैंकका व्यवस्थापक त्वयनाले भने । चिकित्सकका अनुसार आँखाको नानीमा सङ्क्रमण भएर, चोट लागेर, जन्मजात फुलो परेर समयमै उपचार नपाउँदा, अशिक्षा, अज्ञानता र गरिबीको कारणले गर्दा र विभिन्न घरेलु तथा अन्य हानिकारक परम्परागत उपचारका कारण आँखाको नानी बिग्रने सम्भावना बढी हुन्छ । आँखाको नानी रोग विशेषज्ञ चिकित्सक डा बन्दना खनालले नेपालमा दृष्टिविहीनको दोस्रो मुख्य कारण आँखाको नानी बिग्रिनु भएको बताइन् । उनले आँखाको नानीको प्रत्यारोपण गरी पुनः दृष्टि दिलाउन सकिने भन्दै आँखा दानसम्बन्धी सचेतना बढाउनुपर्नेमा जोड दिइन् । पत्रकार सम्मेलनमा मृत्युपछि आँखाको नानी दान गर्ने दाताको सम्झना र सम्मानमा उनीहरूको परिवारको उपस्थितिमा शनिबार सामूहिक श्रद्धाञ्जलीसभाको आयोजना गरिने बैंकका व्यवस्थापक त्वयनाले जानकारी दिए । उनले  भने, “कोरोनाका कारण तीन वर्षमा सामूहिक श्रद्धाञ्जलीसभा हुन सकेन । यही परम्परालाई निरन्तरता दिँदै यस वर्ष तिलगङ्गा आँखा अस्पतालमा सामूहिक श्रद्धाञ्जली सभाको आयोजना गर्दैछौँ । सभामा दाताका आफन्त र आँखाको नानीबाट पुनःदृष्टि पाएका सहभागी हुनुहुनेछ ।” उनले यस सभाले आँखादानको महत्त्वबारे पनि सु–सूचित गर्ने विश्वास व्यक्त गरे ।
नारायणीमा आएको बाढीले मान्छे बगाएपछि… नवलपुर। तराईको गर्मी छल्न नारायणी नदीमा पौडी खेल्न जानेको जमात रहेकै बेलामा नदी किनारमा एक हुल मानिसको जमघट हुन्छ। यत्तिकैमा नदीबाट आवाज आउँछ ‘बचाउ…, बचाउ… ।’ उक्त आवाज सुन्नेबित्तिकै नदी किनारमा रहेका मानिसले छेउमा डल्लो परेको डोरी फालेर उद्धारका लागि प्रयास गर्छन्। बग्दै गरेको मान्छेले डोरी समातेपछि तानेर उसलाई डुब्नबाट बचाएर सकुसल उद्धार गरिन्छ। यो घटना नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोटस्थित नारायणी नदी किनारमा बुधबार आपतकालिन उद्धारका लागि गरिएको नमुना अभ्यासको दृश्य हो। सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालयबाट खटिएका गोताखोरसहित सुरक्षाकर्मीले समुदायका बासिन्दालाई नदीमा बगेको तथा डुबेको अवस्थामा उद्धार गर्ने तरिकाबारे सिकाइरहेका थिए। बन्द कोठामा सैद्धान्तिक प्रशिक्षण दिएपछि सुरक्षाकर्मीले स्थानीयवासीलाई नदीमै लगेर प्रकोपका बेलामा गर्न पर्ने आपतकालीन अभ्यासबारे प्रशिक्षण दिएको थियो। गैँडाकोट नगरपालिका-२ र ३ स्थित नदी किनारका बासिन्दालाई प्रकोपका बेलामा उक्त प्रशिक्षण दिइएको हो। विपद् व्यवस्थापनसम्बन्धी काम गर्दै आएको संस्था कारितास नेपालको आयोजना तथा सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालयको प्राविधिक सहयोगमा उक्त प्रशिक्षण दिइएको हो। कालीगण्डकी र नारायणी नदीले तटीय क्षेत्रका बासिन्दालाई बर्सेनि ठूलो क्षति पुर्‍याउने भएकाले नदीबाट हुने सम्भावित क्षति न्यूनीकरणका लागि प्रशिक्षण दिइएको कारितास नेपालका प्रादेशिक व्यवस्थापक शंकरकुमार पौडेलले बताए। भौतिक संरचना भत्किँदा अपनाउनुपर्ने सावधानीका साथै गर्नुपर्ने खोज तथा उद्धार, नदीमा अपनाउनुपर्ने सावधानी, पीडितलाई गर्नुपर्ने उद्धारकालगायत विषयमा सहभागीलाई प्रशिक्षण दिइएको उनको भनाइ थियो। सैद्धान्तिकसँगै व्यवहारिक ज्ञानसमेत प्रदान गर्दा प्रभावकारी हुने भएकाले सहभागीलाई नारायणी नदीमा लगेर अभ्यास गराइएको व्यवस्थापक पौडेलले बताए। “पढेको कुरा चाँडै विर्सन सकिन्छ तर पढ्दै अभ्यास गरेको कुरा दीर्घकालीन हुन्छ” उनले भने,“आवश्यक पर्दा अभ्यास गरेका सबै कुरा सम्झिन सकिने भएकाले उनीहरुलाई सैद्धान्तिकसँगै व्यवहारिक ज्ञान प्रदान गरिएको हो।” कुरिनटारस्थित विपद् व्यवस्थापन तालिम शिक्षालयका सशस्त्र प्रहरी निरीक्षक, अस्मित चोहान मगरले तालिममा विपद्का बेलामा सुरक्षितरुपमा प्रतिकार्य गर्न चाहिने आधारभूत ज्ञान तथा व्यावहारिक सीपका बारेमा सहभागीलाई प्रशिक्षण दिएका थिए। घाइते तथा पीडितका लागि उद्धार सामग्री स्थानीय स्रोत र साधन प्रयोग गरेर पनि निर्माण गर्न सकिनेबारे त्यस अबसरमा जानकारी दिइएको थियो। संरचना भत्किँदा हुने क्षतिका बेलामा र नदीजन्य प्रकोपका बेलामा गरिने उद्धारका लागि गरिने प्रयासबारे सैद्धान्तिक तथा व्यवहारिक ज्ञान प्रदान गरिएको उनको भनाइ थियो । सशस्त्र प्रहरी निरीक्षक मगरले विपद्बाट जोगिन सबै ठाउँमा पर्याप्त सामग्री नहुने भएकाले सुधाररिएको साधन प्रयोग गर्न सकिने सुझाब दिए। घाइते तथा पीडितको उद्धारका लागि स्थानीयस्तरमै पाइने बाँसको लौरीका साथै तन्ना, पर्दा तथा टिसर्टबाट स्टेचर बनाउन सिकाइएको थियो। त्यसैगरी पानीमा डुबेका व्यक्तिको उद्धारका लागि प्लाष्टिकका बोतल, जर्किन, ड्रमलगायत सामग्रीमा हावा नपस्ने गरी बिर्को लगाएर नदीमा उत्रिने साधन निर्माण गर्न सकिनेमा पनि जानकारी गराइएको थियो। गैँडाकोट-३ का वडाध्यक्ष शिवकान्त तिवारीले तालिममा सिकेका सैद्धान्तिक र व्यवहारिक ज्ञानलाई प्रयोग गरेर विपद्मा सक्रिय भएर उद्धारमा खटिन सहभागीलाई आग्रह गरे। सहरी तथा सहरोन्मुख विपद् उत्थानशील परियोजनामार्फत कारितास नेपालले वडास्तरमा विपद् प्रतिकार्य योजना निर्माण गर्नाका साथै स्थानीय सरकारले बनाएको संरचनालाई क्रियाशील बनाइ विपद् पीडितलाई सघाउ पुर्‍याउँदै आएको उनले बताए। सहरी तथा सहरोन्मुख विपद् उत्थानशील परियोजनाका संयोजक दुर्गाबहादुर लामाले यस परियोजनामार्फत तीन सय किसान, ३० पशुपालक, ३० जना लघुउद्यम व्यवसायी लाभन्वित भएका बताए। उक्त परियोजनाले दुवै वडाका गरी सात विद्यालयलाई स्वच्छता र सरसफाइ सामग्री हस्तान्तरण, प्रहरी कार्यालय एवं वडास्तरीय विपद् व्यवस्थापन समितिलाई उद्धार सामग्री हस्तान्तरण गर्नाका साथै नगरपालिकाको विपद् कोषमा रु दुई लाख सहयोग गरेको उनले जानकारी दिए। रासस
जीप दुर्घटनामा एक दम्पतीको मृत्यु, एक घाइते मान्म। कालीकोटको रास्कोट नगरपालिका–२ सेरामा जीप दुर्घटना हुँदा एक दम्पतीको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। रास्कोटको बसपार्कबाट जितेका लागि छुट्न लागेको ब१च ४६४१ नम्बरको बलेरो जिप दुर्घटना हुँदा रास्कोट नगरपालिका–१ का ४३ वर्षीया मनबहादुर शाही र उनको श्रीमती मनकुमारी शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुवराज वमले जानकारी दिए। उनका अनुसार दुर्घटनामा सोही ठाउँकी ३० वर्षीया रिता शाही घाइते भएकी छिन्। घाइतेको अवस्था गम्भीर रहेकाले हेलिकोप्टरबाट उद्धार गर्ने तयारी भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। स्थानीयका अनुसार चालकले गाडी स्टार्ट गरेर जुत्ता लगाउन गएका बेला गाडी ब्याक सरेर खोलामा खसेको थियो। – रासस
जुम्ली किसानलाई मार्सी धान रोपाइँको चटारो, शेरा खेतमा रोपाइँ सम्पन्न जुम्ला। यहाँका किसानलाई यो याममा मार्सीधान रोपाइँको चटारो छ । किसानहरु बिहानदेखि रातिसम्म खेतमै व्यस्त हुन थालेका छन् । जेठको पहिलो सातादेखि असारको दोस्रो सातासम्म जिल्लाभर धान रोपाइँ हुने गरेको गुठिचौर गाउँपालिका स्थानीयवासी राज्यलक्ष्मी देवकोटाले जानकारी दिइन्। पछिल्लो समय मार्सी धानको चामलले बजार पाउन थालेपछि किसान मार्सी धान रोपाइँप्रति आकर्षित हुन थालेका छन् । जुम्लामा उत्पादन हुने मार्सी चामलको माग देशभर बढिरहेकाले पनि यसको खेति बर्सेनि बढेको कृषि विकास कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख गणेश अधिकारीले बताए। जिल्लाका सात गाउँपालिका, एक नगरपालिकाको सिञ्जा चन्दननाथ क्षेत्र, तातोपानी, देपालगाउँ, गज्र्याङकोट र विश्वकै उच्च स्थानमा धान फल्ने पातारासी गाउँपालिकाको छुमचौरमा काली र रातो मार्सी धाने रोपाइँ धमाधम भइरहेको छ । जिल्लामा दुई हजार आठ सय ५० हेक्टरमा धानखेती हुन्छ । सोमध्ये एक हजार दुई सय हेक्टरमा मार्सी धानको खेती हुने गरेको प्रमुख अधिकारीको भनाइ छ । गतवर्षको असोजमा आएको बाढीपहिरोका कारण सिञ्जा गाउँपालिकाका ४२ वटा धान रोपाइँ गर्ने कुलोमा क्षति पुगेको थियो । गाउँपालिकाको लगानी र स्थानीयको श्रमदानमा २८ वटा कुलो पुनःनिर्माण भई सञ्चालनमा आएपछि सिञ्जाका अधिकांश क्षेत्रमा धान रोपाइँ सुरु भएको सिञ्जा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मित्रलाल धितालले जानकारी दिए। जिल्लाको प्रसिद्ध धार्मिकस्थल चन्दननाथ भैरवनाथ मन्दिरको शेरा खेतमा कालीमार्सी धान रोपाइँ सम्पन्न गरिएको छ । परम्परागतरुपमा रोपिँदै आएको मार्सी धान उक्त शेरा खेतमा बुधबार रोपिएको हो । चन्दनाथ बाबाले भारतको काश्मिरबाट ल्याएर खेती सुरु गरिएको मार्सी धानलाई मन्दिरको शेरा खेतमा रोपाइँ गरेको चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समितिका अध्यक्ष अमरबहादुर थापाले बताए। हरेक वर्षको जेठ १४ गते रोपाइँ हुँदै आएकोमा सो खेतमा योेवर्ष बीउको अभावले रोपाइँ ढिलो भएको हो । गुठी व्यवस्थापन समितिका अध्यक्ष थापाले भने, “चन्दननाथ बाबाको शेरा जिउँलो परापूर्वकालदेखि नै मन्दिरमा अक्षता चढाउनका लागि मार्सी धान रोप्ने गरिन्छ ।” जिउलोमा रोप्दै गर्दा मागल गाउने, पञ्चेबाजा बजाउने गरेको अध्यक्ष थापाको भनाइ छ । जुम्लाको धार्मिक इतिहाससँग जोडिएको शेरा जिउलोमा मार्सी धान रोपाइँ गर्दा अहिले विस्तारै मागल गाउने, पञ्चेबाजा बजाउने क्रियाकलाप हराउन थालेको यहाँका स्थानीयले गुनासो गर्न थालेका छन् । परम्परागत रुपमा रोपाइँ हुँदै आएको शेरा खेतमा यो वर्ष २२ भारी खेतमा रोपाइँ गरिएको छ । तातोपानी गाउँपालिकाको लिताकोट, लाम्रा, हाँकु र चन्दनाथ नगरपालिका -८ र ९ बाट बीउ ल्याएर रोपाइँ गरिएको चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समितिले जनाएको छ । मन्दिरको शेरा खेतमा रोपाइँका लागि स्थानीय, चन्दननाथ माध्यमिक विद्यालयका विद्यार्थीलगायत नागरिक अगुवाको उपस्थिति थियो । समुद्री सतहदेखि दुई हजार आठ सय ५० मिटरको उचाइ रहेको छुमचौर जिउलोमा उत्पादन हुने मार्सी धान खेतीलाई संरक्षण गर्नेका लागि प्रदेश सरकारले प्रथामिकतामा राखेर काम गर्नपर्ने गाउँपालिका अध्यक्ष पुन्नसिंह बोहोराको भनाइ छ । मार्सी धान संरक्षण गर्नेका लागि गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेटमा आवश्यक रकम बिनियोजन गरिने गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले जनाकारी दिइन्। सङ्घीय सरकारले आगामी आवको बजेटमा जुम्ली मार्सी धानको ब्राण्डिङ गर्ने उल्लेख गरेको छ।रासस
विश्व रक्तदाता दिवस २०८० को अवसरमा ब्लड सचेतना र्याली सम्पन्न काठमाडौँ। विश्व रक्तदाता दिवस २०८० को उपलक्ष्यमा रक्तदान जनचेतना र्याली तथा प्रभातफेरी कार्यक्रम सफलतापुर्वक सम्पन्न भएको छ। ‘नियामितरुपमा रगत तथा प्लाज्मा दान गरौं, जीवन बचाउने कार्यमा हातेमाले गरौं’ भन्ने नाराका साथ ब्लड डोनर्स एसोशियसन नेपाल(ब्लोदान) र लायन्स क्लवको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो। बिहिबार बिहान आयोजना गरिएको उक्त र्‍याली कोटेश्वर प्रहरी प्रभागदेखि सुरु भएर कोटेश्वर महादेव मन्दिरमा पुगेर समापन भएको हो। कार्यक्रममा प्रमुख अतिथिमा बाग्मती प्रदेश सभासद सुनिल केसी, विशेष अतिथिहरुमा ब्लोदानका केन्द्रिय अध्यक्ष सानुबाबु प्रजापति तथा लायन्स क्लवका डिक्स्ट्रीट गभर्नर डा. राजेन्द्र गिरि रहेका छन्। सोही कार्यक्रममा बोल्दै लायन्स क्लवका डिक्स्ट्रीट गभर्नर लायन डा. राजेन्द्र गिरिले लायन्स क्लवले पनि ब्लोदानका क्षेत्रमा रक्तदान जस्तो परोपकारी संस्थासंग सहकार्य गर्दै रक्तदानका कार्यहरु गर्दै आएको तथा आगामी दिनमा पनि गर्दै जाने बताए। विशेष अतिथि ब्लोदानका अध्यक्ष सानुबाबु प्रजापतिले रक्तदानको संक्षीप्त भूमिका र विश्व रक्तदाता दिवस २०८० का अवसरमा रक्तदानका साताव्यापी कार्यक्रमका बारेमा जानकारी दिए। त्यस्तै, प्रमुख अतिथिमा प्रदेश सभासद सुनिल केसीले आफु स्वयं स्वंयसेवी रक्तदाता भएको र रक्तदानका क्षेत्रमा आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने बताए।
१ असारदेखि भदौं मसान्तसम्म सडक खन्न नपाइने काठमाडौँ। वर्षायामको समयमा सडक खनेमा कारबाही गरिने भएको छ। सडक विभागअन्तर्गतको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले ‘वर्षायाममा सडक खन्ने स्वीकृति नदिइनेबारे सार्वजनिक सूचना’ जारी गर्दै जबर्जस्ती गरेमा कारबाही गर्ने जनाएको हो। जारी सुचना अनुसार आगामी असर १ गतेदेखि भदौ मसान्तसम्म सडकमा खन्न पाइने छैन। ‘वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत–सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक पनि थप बिग्रँदै जाने भएकोले यही २०६० साल असार १ गतेदेखि २०८० साल भाद्र मसान्तसम्म यस कार्यालय अन्तर्गतका सडक डिभिजनहरू मातहत रहेका कुनै पनि सडक खन्ने स्वीकृति नदिइने,’ जारी सुचनामा भनिएको छ, ‘ कसैले जबर्जस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन २०३१ अनुसार कडा कारबाही गरिने बेहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिए‌को छ।’
आजको मौसमः तराईमा तापक्रम नघटने, तीन प्रदेशमा पानी पर्ने संभावना काठमाडौं। हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। कोशी प्रदेश लगायत बागमती, लुम्बिनी, गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षा भइरहेको छ। दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेशको पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। देशका तराइका भू-भागहरूमा अधिकतम र न्यूनतम तापक्रम केही दिन नघट्ने देखिन्छ जसका कारण सो भू-भागहरूमा तातो हावा र लू चलिरहेको अवस्था छ। कोशी, गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। अत्याधिक गर्मी तथा मेघ-गर्जन/चट्याङबाट हुन सक्ने जोखिम वा क्षति बाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ।
जिसस स्याङ्जाको गाडी दुर्घटना चालकको मृत्यु वालिङ । जिल्ला समन्वय समिति स्याङ्जाको स्कारपियो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–३ खोले भन्ने स्थानमा दुर्घटना हुँदा सवारी चालक स्याङ्जाको वालिङ–४ एलादीका ३५ वर्षीय अमृत खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी रवीन्द्र खनालले जानकारी दिए । स्याङ्जाको सिरुवारीबाट स्याङ्जा सदरमुकामतर्फ फर्कंदै गरेको बा१झ ५८७८ नम्बरको गाडीमा सवार अन्य तीन जना घाइते भएका छन् । दुर्घटनामा परी जिल्ला समन्वय अधिकारी राजेन्द्र पौडेल, विद्युत् कार्यालय स्याङ्जाका सुपरभाइजर टीकाराम पौडेल र अम्बिका पौडेल घाइते भएका छन् । गाडी सडकबाट तल खसेर दुर्घटना भएको हो । दुर्घटनाका बारेमा थप अनुसन्धान भइरहेको सूचना अधिकारी खनालले बताए ।
लागूऔषधसहित धनगढीमा एक जना पक्राउ धनगढी । कैलालीमा एक जना युवा लागूऔषधसहित धनगढीमा पक्राउ परेका छन् । धरान उपमहानगरपालिका–१५ सुनसरीका २७ वर्षीय प्रदिप ढकाललाई प्रहरी चौकी त्रिनगरबाट खटिईएको टोलीले ६४० मिलिग्राम लागूऔषध खैरो हिरोइनसहित गरेको हो । ढकाललाई धनगढी उपमहानगरपालिका–३ व्यारेलबाट पक्राउ गरिएको प्रहरीले जनाएकोछ ।
कैलालीमा मोटरसाइकलबाट खसेर एक महिलाको मृत्यु धनगढी । कैलालीमा मोटरसाइकलको पछाडिबाट महिला खस्दा मृत्यु भएको छ जिल्लाको भजनी जगरपालिका –८ का ओमप्रकाश डगौराले चलाएको बा.५६ प.४६२१ नंम्बरको मोटरसाइकल पछाडि सवार सोहि ठाउँकी ५० वर्षीया जानकीदेवी डगौराको मृत्यु भएको हो । भजनी नगरपालिका–३ ठेकीपुलदेखि भजनी गोरचौरा जादै गर्दा ठेकीमा खसेकी थिइन्। डगौरा आफै पछाडिबाट खसेपछि टाउकोमा गम्भिर चोट लागेको थियो । उनको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल र चालकलाई ईलाका प्रहरी कार्यालय भजनीले नियन्त्रणमा लिएको छ ।
भक्तपुरका दुई ठाउँमा अठार लाखभन्दा बढीका गरगहना र नगद चोरी भक्तपुर। भक्तपुरका दुई ठाउँमा आज सुनका गरगहना र नगद गरी १८ लाखभन्दा बढीको चोरी भएको छ । मध्यपुरथिमि र चाँगुनारायण नगरपालिकामा नगद र गरगहना चोरी भएको हो । चाँगुनारायण नगरपालिका–५ छालिङ भीमसेन टोलकी निर्मला वनको घरबाट दिउँसै ढोकाको ताला फुटाइ रु १० लाख ९६ हजार छ सय २५ सुनको विभिन्न गहना र नगद रु ३१ हजार चोरी भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । त्यस्तै प्रहरीका अनुसार झापा दमक नगरपालिका–३ घर भई मध्यपुरथिमि नगरपालिका–३ कौशलटार कुटु टोलमा बस्ने भएकी बबिता भट्टराईको डेराबाट रु सात लाख १२ हजार बराबरको सुनका गरहगहना र नगद रु १६ हजार नगद चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।
चिनियाँ र नेपाली मिलेर अवैध कल बाइपास, तीन हजार सात सय सिम बरामद काठमाडौं। चिनियाँ र नेपाली मिलेर अवैधरूपमा कल बाइपास गरेको फेला परेपछि दुई व्यक्ति पक्राउ परेका छन् । ललितपुरको महालक्ष्मी नगरपालिका–५ टीकाथली खरिबोटमा अवैध अन्तर्राष्ट्रिय कल\एसएमएस बाइपासमा संलग्न रहेको अभियोगमा उनीहरूलाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ । ब्यूरोका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाका अनुसार पक्राउ पर्नेमा चिनियाँ नागरिक ३२ वर्षीय झाओ जियाङपेङ र सिन्धुपाल्चोक त्रिपुरासुन्दरी घर भई काठमाडौँ महानरगपालिका–१६ सोह्रखुट्टे बस्ने २२ वर्षीय गणेश श्रेष्ठ रहेका छन् । ललितपुर महालक्ष्मी नगरपालिका–५ टीकाथली खरिबोटमा गैरकानुनीरूपमा शङ्कास्पद गतिविधि भइरहेको छ भन्ने गोप्य सूचनाका आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले केही दिनदेखि खोजतलास गरिरहेको थियो । सोही क्रममा खरिबोटस्थित घर भाडामा लिई नेपाल सरकारको कुनै पनि निकायबाट अनुमति नलिई अवैधरूपमा कल तथा एसएमएस बाइपास गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो । उनीहरूको साथबाट ठूलो परिमाणमा सिमकार्ड तथा अन्य अवैध उपकरण, नेपाली रुपैयाँ र विभिन्न देशका मुद्रा बरामद गरिएको छ । उनीहरूको साथबाट एनसेलको प्रयोग गरेका र नगरेका सिममात्रै तीन हजार सात सय थान बरामद गरिएको छ । यस्तै झण्डै पाँच लाख नेपाली रुपैयाँ र डलरसहित विभिन्न मुलुकका पैसा पनि बरामद गरिएको छ । उनीहरूउपर दूरसञ्चार ऐन, २०५३ अन्तर्गत ललितपुर जिल्ला अदालतबाट आज म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको छ ।
आफ्नै शिशुको हत्या गरी फरार अन्सारी समातिए काठमाडौं। आफ्नै १४ दिने शिशुको हत्या गरी फरार एक व्यक्तिलाई प्रहरीले १० दिनपछि पक्राउ गरेको छ । बारामा घटना घटाएर फरार भएका उनलाई काठमाडौँको चन्द्रागिरिबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार जेठ १४ गते बेलुका अन्दाजी ५ बजेको समयमा बाराको देवताल गाउँपालिका–४ तिप्राडी टोल बस्ने नुर आलम अन्सारीले आफ्नो नवजात शिशु (१४ दिनको छोरालाई) कर्तव्य गरी मारेर फरार रहेका थिए । उनी फरार भएपछि काठमाडौँमा लुकेको आशङ्कामा खोजतलास गरी पक्राउ गर्न भन्दै जिल्ला प्रहरी कार्यालय बाराबाट पत्राचार भएअनुसार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खोजतलासमा खटिएको प्रहरी टोलीले उनलाई गए राति काठमाडौँको चन्द्रागिरि नगरपालिका–१५ ढुङ्गेअड्डा पिपलबोटबाट पक्राउ गरेको थियो। उनलाई थप आवश्यक अनुसन्धान तथा कारबाहीका लागि आजै जिल्ला प्रहरी कार्यालय बारामा पठाइएको रेग्मीले बताए।