content
stringlengths 20
64.1k
⌀ |
---|
अर्थतन्त्र आत्तिनुपर्ने अवस्थामा छैन : अर्थमन्त्री काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र आत्तिहाल्नुपर्ने अवस्थामा नरहेको बताएका छन् ।
अर्थ मन्त्रालयमा आज नेपाल आर्थिक पत्रकार समाज (सेजन) सँगको छलफलमा उनले अर्थतन्त्रका सूचक सकारात्मक रहे पनि सम्भावित जोखिमबारे सजग रहेर सुधारको दिशामा अघि बढ्नुपर्ने खाँचो औँल्याए । उनले भने, “अर्थतन्त्रमा केही समस्या छन् तर त्यसलाई न्यूनीकरण गर्न सकिन्छ । खर्च कम गरेर उत्पादनशील क्षेत्रमा लगाउने र जनतामा देखिएको नैराश्यलाई कम गर्न केही सुधारका काम गर्नु अपरिहार्य छ ।”
अर्थमन्त्री डा महतले अनावश्यक खर्च कम गर्ने र पूँजीगत खर्चलाई उत्पादनशील क्षेत्रमा खर्च गर्ने योजना रहेको उल्लेख गरे । उनले भने, “अनावश्यक खर्च कम गर्ने र पूँजीगत खर्च ‘मस्ट प्रोडक्टिभ’ क्षेत्रमा गर्ने योजना छ ।” उनले आयात प्रतिबन्ध हुँदा विदेशबाट विभिन्न च्यानलबाट अवैधरूपमा मोबाइल फोन भित्रिँदा रु ३० देखि ३५ अर्ब राजस्व गुमेको उल्लेख गरे ।
पूर्वाधार, घरजग्गा कारोबारमा आएको मन्दी र बैंकको ब्याजदर बढेकाले व्यापारमा समस्या आएको उनको भनाइ थियो । विगतमा लक्ष्य बराबर राजस्व उठ्ने गरेको भए पनि यो वर्ष बजारमा माग नबढ्दा आयात बढ्न नसकेपछि लक्ष्यअनुसार राजस्व सङ्कलन हुन नसकेको उनको भनाइ थियो ।
अर्थ सचिव तोयम रायाले बजारमा हल्ला भए जस्तो अर्थतन्त्र नकारात्मक दिशामा नरहेको बताए । उनले लक्ष्यअनुसार राजस्व सङ्कलन हुने देखिएको र विप्रेषण पनि सन्तोषजनक अवस्थामा रहेको उल्लेख गरे ।
बाह्रखरीका प्रधान सम्पादक प्रतीक प्रधानले आगामी आर्थिक वर्षको बजेटमा आधारभूत सेवा सुधार, रोजगारी सिर्जना गर्नेतर्फ ध्यान दिन सुझाव दिए । सेजनका अध्यक्ष जनार्दन बरालले मुलुकको अर्थतन्त्र र सुधारबारे प्रस्तुतीकरण गरेका थिए । |
सुदूरपश्चिममा ‘बुस्टर डोज’ लगाउने न्यून बैतडी। सुदूरपश्चिम प्रदेशमा कोरोनाविरुद्धको बुस्टर डोज लगाउने सङ्ख्या न्यून रहेको छ। प्रदेशमा कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाउनेभन्दा बुस्टर डोज लगाउनेको सङ्ख्या आधा कम हो।
प्रदेशका नौवटै जिल्लामा गरी हालसम्म कूल २२ लाख ३३ हजार आठ सय ३१ जनाले कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाएका छन्। तेस्रो तथा बुस्टर डोजको पहिलो मात्रा लगाउने सङ्ख्या दश लाख १५ हजार ३७ रहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए।
कैलालीमा सात लाख ३२ हजार सात सय ८९ जनाले पूर्ण मात्रा लगाएकामा तीन लाख ८६ हजार एक सय ८८ जनाले मात्रै बुस्टर डोज लगाएका छन्। कञ्चनपुरमा चार लाख ३९ हजार एक सय ६८ जनाले पूर्ण र एक लाख ९९ हजार आठ सय ५७ जनाले बुस्टर डोज लगाएको निर्देशनालयले जनाएका छन्।
यस्तै बैतडीमा दुई लाख ११ हजार छ सय ५२ जनाले पूर्ण तथा ९८ हजार दुई सय १३ बुस्टर डोज, अछाममा एक लाख ८३ हजार छ सय दुई जनाले पूर्ण तथा ८८ हजार आठ सय ५२ जनाले बुस्टर डोज, डोटीमा एक लाख ६१ हजार एक सय ३८ जनाले पूर्ण तथा ६३ हजार पाँच सय १४ जनाले बुस्टर डोज, बझाङमा एक लाख ३७ हजार छ सय ११ पूर्ण तथा ३२ हजार एक सय १७ जनाले बुस्टर डोज, डडेल्धुरामा एक लाख २७ हजार सात सय २५ जनाले पूर्ण तथा ६७ हजार पाँच सय ८४ बुस्टर डोज, बाजुरामा एक लाख २५ हजार चार सय ६८ जनाले पूर्ण तथा २९ हजार आठ सय नौ जनाले बुस्टर डोज तथा दार्चुलामा एक लाख १४ हजार छ सय २८ जनाले पूर्ण तथा ४८ हजार नौ सय तीन जनाले बुस्टर डोज लगाएका छन्।
प्रदेशभरि कोरोना भाइरसविरुद्धको चौथो तथा बुस्टर डोजको दोस्रो मात्रा लगाउनेको सङ्ख्या भने २९ हजार आठ सय ५६ मात्रै रहेको निर्देशनालयको तथ्यांकमा उल्लेख छ।
रोग फैलिएपछि मात्रै खोप लगाउनुपर्छ भन्ने सोचका कारण बुस्टर डोज लगाउनेको सङ्ख्या न्यून भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य निरीक्षक मीनराज जोशीले बताए। उनले भने, “रोग फैलिएपछि मात्रै खोप लगाउनुपर्छ भन्ने सोच अझै छ।”
प्रदेशमा खोप कम मात्रामा आएकाले यो समस्या देखिएको जोशीको भनाइ छ। उनले भने, “खोप बढी मात्रामा आयो भने सबैलाई लगाउँछौँ।” प्रदेशमा हाल कोरोनाविरुद्धको खोप लगाउने अभियान जारी छ।
पचपन्न वर्षमाथिका, दीर्घरोगी, स्वास्थ्यकर्मी, कर्मचारीलगायतलाई बुस्टर डोज दिन थालिएको छ। उनीहरुका लागि ८९ हजार डोज खोज उपलब्ध रहेको जोशी बताउँछन्।
सुदूरपश्चिममा २०७७ माघ १४ गतेदेखि कोरोना भाइरसविरुद्धको खोपको अभियान सुरु गरिएको थियो। भारतसँग सीमा जोडिएको यस प्रदेशमा दैनिक कोरोना सङ्क्रमण बढ्दै गएको छ। सङ्क्रमण अधिकांश भारतबाट फर्किएकामा रहेकाले जोखिम बढेको छ।
सीमानाकामा हेल्थ डेस्क स्थापनाका साथै अनिवार्य कोरोना परीक्षण गराउने गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए।
प्रदेशसमा हालसम्म छ लाख ४७ हजार सात सय ३४ जनाको कोरोना परीक्षण गरिएको छ। हालसम्म ६१ हजार नौ सय ७७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। कोरोनाबाट प्रदेशमा हालसम्म छ सय ३५ जनाको ज्यान गइसकेको छ। |
पूर्ण खोप सुनिश्चित घोषणा गर्ने विराटनगर महानगरको तयारी विराटनगर। विराटनगर महानगरपालिकालाई कोशी प्रदेशकै पहिलो पूर्ण खोप सुनिश्चित भएको पालिका घोषणा गर्ने तयारी भएको छ।
पूर्ण खोप सुनिश्चित पालिका घोषणाका लागि महानगरले सरोकारवालासित आज छलफल गरेको छ। विराटनगरलाई आगामी वैशाख ३ गते पूर्ण खोप सुनिश्चित भएको पालिका घोषणा गर्ने महानगरको योजना रहेको छ।
महानगर प्रमुख नागेश कोइरालाले पूर्ण खोप सुनिश्चित घोषणाका लागि महानगरले तयारी तीव्र बनाएको जानकारी दिए।
प्रमुख कोइरालाको अध्यक्षतामा भएको छलफलमा मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले तथ्य र तयारीका आधारमा अनुगमन गरेर आउने प्रतिवेदनअनुसार पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा गर्नुपर्नेमा जोड दिए।
उनले प्रशासनका तर्फबाट महानगरलाई पूर्ण खोप सुनिश्चित भएको पालिका घोषणा गर्न सबै किसिमको सहयोग गर्ने प्रतिबद्धता जनाए। महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले सबै खोप लगाउनु बालबालिकाको नैसर्गिक अधिकार भएको धारणा राखे।
पूर्ण खोपका लागि पूर्वतयारी अन्तिम चरणमा पु¥याएको महानगरका स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिए। महानगरका १९ वटै वडाका पाँच वर्षमुनिका करिब ११ हजार बालबालिकाको जाँच गर्दा ७५ जना बालबालिकामात्रै खोपबाट वञ्चित भएको पाइएको थियो।
छलफलमा महानगरका सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, समितिका सदस्य सरिता घिमिरे नेपाल, मोरङ प्रहरीका प्रहरी उपरीक्षक दीपक पोखरेल, जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा सुरेश मेहता, महानगरका सामाजिक महाशाखा प्रमुख अर्जुन थपलियालगायतको सहभागिता रहेको थियो। |
कैलाली र कञ्चनपुरका पशुमा रेबिजको सङ्क्रमण दोधारा चाँदनी । पछिल्लो एक महिनायता कैलाली र कञ्चनपुरमा पशुमा रेबिजको सङ्क्रमण दर बढेको छ । पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढी कैलालीका अनुसार कञ्चनपुरमा पशुमा रेबिजको सङ्क्रमण बढेको छ । रेबिज सङ्क्रमणका कारण कञ्चनपुरमा भैँसी, गाई र बाख्राको मृत्यु भएको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीका प्रमुख वरिष्ठ पशु चिकित्सक नरेश प्रसाद जोशीले बताए ।
उनले कैलालीका केही स्थानमा देखिए पनि कञ्चनपुरमा तीव्ररुपमा सङ्क्रमण फैलिन थालेको बताए । “कञ्चनपुरको बेदकोट र भीमदत्तका विभिन्न स्थानबाट पशु मर्न थालेपछि हामीलाई खबर आयो हामीले गएर अनुसन्धान गर्दा रेबिजको सङ्क्रमण पुष्टि भएको छ”, उनले भने, “मङ्गलबार मात्रै भीमदत्त नगरपालिका–१५ मा रेबिजको सङ्क्रमणबाट गाईको मृत्यु भएको छ ।”
रेबिजकै कारण भीमदत्त नगरपालिका–१३ मा बाख्राको मृत्यु भएको छ भने बेदकोट नगरपालिकाको चम्मापुरमा भँैसीको मृत्यु भएको छ । त्यसैगरी भीमदत्त नगरपालिकाको तिलकपुरमा पनि रेबिजकै कारण गाईको मृत्यु भएको पशुपन्छी रोग अन्वेषण प्रयोगशालाले जनाएको छ ।
“कैलालीको गौरीगङ्गा र धनगढीमा सङ्क्रमण देखिएको छ”, वरिष्ठ पशु चिकित्सक जोशीले भने, “कञ्चनपुरमा रेबिजको सङ्क्रमण बढी फैलिएको छ हामीले सबैलाई सचेत हुन आग्रह गरेका छौँ”, उनले सङ्क्रमण तीव्र देखिन थालेपछि प्रयोगशालाबाट निःशुल्क रुपमा खोप उपलब्ध गराउन थालेको जानकारी दिए ।
“स्याल र कुकुरको टोकाइबाट रेबिज सङ्क्रमण हुन्छ भने सङ्क्रमणपछि यसको कुनै उपचार छैन”, उनले भने, “सबैले कुकुरमा रेबिजविरुद्धको खोप लगाउन आवश्यक छ ।” भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरका वरिष्ठ पशु चिकित्सक पानसिंह ठगुन्नाले कञ्चनपुरमा रेबिजको सङ्क्रमण फैलिएको भन्दै सबै सचेत हुनुपर्ने बताए । “रेबिजका कारण दुई÷तीन वटा गाई र कुकुर मरिसकेका छन्”, उनले भने, “एक महिनायता सङ्क्रमणदर बढ्दो छ ।”
भीमदत्त नगरपालिकाका(१४ अध्यक्ष भोजराज जोशीले रेबिजका कारण तीन वटा गाई मरेको बताए । “रेबिजकै कारण तीन वटा गाईको मृत्यु भएको हो”, उनले भने, “रातिको समयमा स्यालले या कुकुर कस्ले टोक्यो भन्ने थाहा भएन ।” कञ्चनपुरमा रेबिजका कारण गाईवस्तु मर्ने क्रम बढ्न थालेको छ ।” |
चलचित्रको सङ्ख्यामा भन्दा गुणस्तरीयतामा ध्यान दिनुपर्ने बेला आएको छ– मन्त्री शर्मा काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अब चलचित्रको सङ्ख्यामा भन्दा गुणस्तरीयतामा ध्यान दिनुपर्ने समय आएको बताएकी छन् ।
नेपाली चलचित्र उद्योगका विभिन्न सङ्घ÷संस्थाका निर्वाचित तथा नियुक्त पदाधिकारी र सदस्यलाई बधाई दिन तथा नयाँ वर्ष २०८० को शुभकामना आदानप्रदान गर्न नेपाल चलचित्र निर्माता सङ्घले आयोजना गरेको कार्यक्रममा सरकारका प्रवक्तासमेत रहेकी मन्त्री शर्माले चलचित्रको गुणस्तरीयता वृद्धिमा जोड दिएकी हुन् ।
“हिजो चलचित्रको सङ्ख्या कम रहेको र प्रविधिको प्रयोग नहुने बेलामा चलचित्रको सङ्ख्या बढाउनु महत्त्वपूर्ण नै हुन्थ्यो”, उनले भनिन्, “तर अब छायाङ्कनदेखि प्रदर्शनसम्ममा प्रविधिको उच्चतम प्रयोग भइरहेको र अन्तर्राष्ट्रिय चलचित्र उद्योगसँग समेत प्रतिस्पर्धा गर्ने समय आएकाले पनि गुणस्तरमा ध्यान दिनु आवश्यक छ ।”
नेपाली चलचित्र क्षेत्रको विकास गर्दै यसलाई अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न लायक बनाउन चलचित्रकर्मीलाई लाग्न आग्रह गर्दै उनले यसमा आवश्यक कानून र नीति निर्माणको सवालमा सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
चलचित्र क्षेत्रको नीतिगत कामका लागि सरकारी निकायका रूपमा चलचित्र बोर्ड सक्रिय रहेको उल्लेख गर्दै उनले बोर्डमार्फत चलचित्र क्षेत्रका समस्या र नीतिगत समाधानका उपाय केन्द्रीकृत गर्न आग्रह गरिन् ।
अहिले पनि नेपाली चलचित्र क्षेत्र २०२६ सालको ऐनद्वारा निर्देशित भएको उल्लेख गर्दै मन्त्री शर्माले हिजो श्यामश्वेत चलचित्र चलाउने कानूनले आजको डिजिटल युुगलाई प्रतिनिधित्व गर्न नसक्ने भएकाले चलचित्र ऐन परिमार्जन थालिएको बताइन् ।
अहिले चलचित्र बोर्डले मस्यौदा तयार गरिरहेको उल्लेख गर्दै उनले जतिसक्यो चाँडो मन्त्रालयबाट टुङ्ग्याएर अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरिन् । चलचित्र आम सञ्चार क्षेत्रको सशक्त माध्यम भएकाले यसलाई राजनीतिक र सामाजिक परिवर्तनको सन्देश प्रवाह गर्ने माध्यमका रूपमा पनि परिचालन गर्नु आवश्यक रहेकोमा उनले जोड दिइन् ।
“चलचित्र क्षेत्र मनोरञ्जनको साधन मात्र होइन, यो सन्देश प्रवाहको माध्यम पनि हो”, मन्त्री शर्माले भनिन्, “त्यसैले चलचित्र निर्माण गर्दा विषयवस्तु, सन्देश र कला पक्षको सन्तुलनमा बराबरी ध्यान दिनु आवश्यक छ ।”
नेपाल प्राकृतिक हिसाबले सुन्दर र सांस्कृतिक हिसाबले विविधतायुक्त मुलुुक भएकाले यसलाई राम्रोसँग चलचित्रमा प्रस्तुत गरेर राष्ट्रिय÷अन्तर्राष्ट्रियस्तरमा प्रचार गर्नसके चलचित्रको माध्यमबाट देशको समृद्धिमा ठूलो योगदान गर्न सकिने विश्वास पनि उनले व्यक्त गरिन् ।
चलचित्र निर्माता सङ्घका अध्यक्ष नवल खड्काको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली चलचित्र उद्योगका विभिन्न सङ्घ÷सङ्स्थाका निर्वाचित तथा नियुक्त पदाधिकारी र सदस्यलाई सम्मान गरिएको थियो । |
अज्ञात समूहद्वारा हात्तीको सुँड काटियो चितवन। पर्यटकीय नगरी सौराहामा बाँधेर राखिएको एक हात्तीको सुँड काटिएको छ। पर्यटन व्यवसायी दीपेन्द्र खतिवडाको उक्त हात्तीको सुँड गएराति काटिएको हो।
सौराहास्थित रेष्टुराँ एण्ड बार एशोसिएशनका पूर्वअध्यक्ष समेत रहेका खतिवडाका अनुसार गएराति ११ः३० बजेतिर हात्तीसारमा बाँधेर राखिएको हात्तीको सुँड धारिलो हतियार प्रहार गरी काटिएको अवस्थामा भेटिएको थियो। हात्ती पीडाले कराएपछि हेर्न जाँदा यस्तो घटना देखिएको उनको भनाइ थियो।
हात्तीलाई मार्ने उद्देश्यले नै सुँड काटिएको हुनसक्ने खतिवडाले बताए। उनका अनुसार ४५ वर्षीया चन्चलकली हात्तीको सुँड छ इन्च काटिएको छ। बाघमारा सामुदायिक वन जाने बाटोमा तीन वटा हात्ती एकै ठाउँमा बाँधेर राखिएकामा चन्चलकलीको सुँड काटिएको थियो। काटिएको सुँडको भाग जोड्न नमिल्ने अवस्थामा रहेको र उपचारका बारेमा चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका चिकित्सक तथा प्राविधिकहरुबीच छलफल भइरहेको खतिवडाले बताए।
हात्तीले खानका लागि आहारा तान्न र कुनै कुरा टिप्न सुँडको प्रयोग गर्दछ। जिल्ला प्रहरी कार्यालयका उपरीक्षक रामेश्वर कार्कीले नेपाल प्रहरी र निकुञ्ज प्रशासनको सहयोगमा घटनाबारे अनुसन्धान भइरहेको बताए। |
डम्पिङ साइट निर्माण गर्न जग्गा अभाव दोधारा चाँदनी। कञ्चनपुरको भीमदत्त नगरपालिकामा फोहरमैला प्रशोधन केन्द्र (डम्पिङ साइट) निमार्ण गर्न जग्गा नपाउँदा समस्या भएको छ। लामो समयदेखि नगरपालिकाले फोहरमैला प्रशोधन केन्द्रका लागि उपयुक्त जग्गा भेट्टाउन नसक्दा प्रशोधन केन्द्र निर्माण अन्योलमा छ।
एशियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा भीमदत्त नगरपालिकामा आधुनिक सडक निर्माणसँगै फोहर व्यवस्थापनका लागि फोहरमैला प्रशोधन केन्द्र स्थापना गर्ने योजना भए पनि समयमा जग्गा उपलब्ध नहुँदा एडिबीको बजेट फिर्ता भएको नगरपालिकाका इञ्जिनीयर हिमालय सिंह ऐरले जानकारी दिए।
“प्रशोधन केन्द्रका लागि एडिबीबाट रु ५० करोड बजेट आएको थियो, नगरपालिकाले समयमा जग्गा उपलब्ध गराउन नसक्दा त्यो रकम फिर्ता भयो”, उनले भने, “अहिले नगरपालिका आफैले प्रशोधन केन्द्र निमार्णका लागि जग्गा खोजिरहेको छ।” उनले अब नगरपालिकाले आफ्नै लगानीमा प्रशोधन केन्द्र बनाउनु परेको बताए। यसअघि नगरपालिकाले भीमदत्त नगरपालिकाको चुरेक्षेत्रमा प्रशोधन केन्द्र बनाउने भने पनि स्थानीयवासीको विरोधका कारण बन्न नसकेको हो।
नगरपालिकाले जग्गा खोज्नका लागि यसअघि वडाध्यक्षको नेतृत्वमा समिति बनाएर प्रतिवेदन बुझाइसकेको छ। जग्गाको विषय र स्थान टुङ्गो नलाग्दा यहाँ केन्द्र निर्माणमा ढिलाइ भइरहेको भीमदत्त नगरपालिकाका प्रवक्ता खड्काले बताए।
“फोहरमैला प्रशोधन केन्द्र स्थापनाका लागि जग्गा खोजिरहेका छौँ”, खड्काले भने, “जग्गा खरिद गरेर वा सार्वजनिक जग्गा उपयोग गरेर भए पनि केन्द्र निर्माणमा पालिकाले पहल गरीरहेको छ।” महेन्द्रनगर बजारबाट मात्रै दैनिक ६ देखि सात टनसम्म फोहर उठ्ने गरेको नगरपालिकाले जनाएको छ। |
सुजनले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिने भादगाउँ। मध्यपुरथिमिको बोडेको जात्रामा यस वर्ष २७ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेड्ने भएका छन्। बिस्काः जात्राको अवसरमा मध्यपुरथिमिको बोडेमा आयोजना हुने मौलिक शैलीको जात्रामा उनले जिब्रो छेड्न लाग्नुभएको हो।
जात्रामा जिब्रो छेड्ने स्थानीय श्रेष्ठ थरको पुरुष हुनुपर्ने परम्परा छ। यही परम्पराअनुसार यस वर्ष सुजनले जिब्रो छेडेर जात्रालाई निरन्तरता दिन लागे हो। सुजन नौ पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिँदैआउनुभएका स्थानीय बुद्धकृष्ण बाग श्रेष्ठका कान्छा छोरा हुन्। बुद्धकृष्णले पहिलोपटक २०६२ सालमा जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएका थिए। त्यसपछि उनले २०६५ सालसम्म लगातार चार पटक जिब्रो छेडे।
विसं २०६६ मा बुद्धकृष्णले जिब्रो नछेड्ने बताएपछि जात्रालाई निरन्तरता दिन जुजुभाइ बासँ श्रेष्ठले जिब्रो छेडेका थिए। जुजुभाइले २०६५ देखि २०७२ सालसम्म आठ पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिए। विसं २०७३ मा जुजुभाइका श्रीमती र भाउजु दुवै बिरामी भएकाले जिब्रो नछेड्ने घोषणा गरे। त्यसयता पुनः बुद्धकृष्णले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिँदै आएका थिए।
जात्राको हालसम्मको तथ्याङ्क तथा प्रमाणअनुसार १२ जनाले एक सय छ वर्ष जिब्रो छेडाएको इतिहास छ। विसं १९६९ देखि १९९० सम्म हर्कनरसिंह बासँ श्रेष्ठले २२ पटक, विसं १९९१ देखि २०२२ सम्म बेखानारायण हाय श्रेष्ठले ३२ पटक, २०२३ मा हरिदेव किला श्रेष्ठले, २०२४ देखि २०२६ सालसम्म हरि भासिंक श्रेष्ठले तीनपटक तथा २०२७ र २०२८ सालमा इन्द्रबाटा श्रेष्ठले दुई पटक जिब्रो छेडाउनुभएको तथ्याङ्क छ।
त्यस्तै २०२९ देखि २०३१ सालसम्म हर्केश्वर ब्याँ श्रेष्ठले तीन, २०३२ देखि २०३८ सालसम्म चन्द्रसेन द्यों श्रेष्ठले सात, २०३९ देखि २०४६ सालसम्म दिलकुमार खपे श्रेष्ठले सात, २०४७ सालमा मुनि घों श्रेष्ठले, २०४८ सालमा धर्मराज बलाय श्रेष्ठले तथा २०४९ देखि २०६० सालसम्म १२ पटक कृष्णचन्द्र बाग श्रेष्ठले जिब्रो छेडाएको इतिहास छ। |
चैते धानखेती घट्दै गण्डकी। गण्डकी प्रदेशमा एकै वर्षमा एक हजार सात ३५ हेक्टर चैते धानखेतीको क्षेत्रफल घटेको छ। आर्थिक वर्ष २०७८/७९ मा सात हजार छ सय पाँच हेक्टरमा चैते धानखेती हुँदै आएकामा अघिल्लो हिउँदमा भने किसानले जम्मा पाँच हजार आठ सय ७० हेक्टरमा चैते धान लगाएका थिए।
चैते धानखेतीको क्षेत्रफल घटेसँगै उत्पादनमा पनि गिरावट आएको छ। प्रदेशको कृषि विकास निर्देशनालयका अनुसार आव २०७८/७९ मा ३२ हजार सात सय ७३ मेट्रिक टन धान फलेकामा चालु आवमा उत्पादन घटेर २७ हजार चार सय ३७ मेट्रिक टन पुगेको छ। वर्ष दिनको अन्तरमा १६ दशमलव २८ प्रतिशतले चैते धानको उत्पादन घटेको हो।
धानको उत्पादकत्वमा भने अघिल्लो आवको तुलनामा आठ दशमलव ४६ प्रतिशतले वृद्धि भएको पाइएको छ। आव २०७८/७९ मा प्रतिहेक्टरमा चार दशमलव ३१ मेट्रिक टन उत्पादन भएकामा चालु आवमा चैते धानको उत्पादकत्व प्रतिहेक्टर चार दशमलव ६७ छ। कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले जिल्लामा जम्मा १० हेक्टर क्षेत्रफलमा मात्र चैते धानखेती हुने गरेको बताए। पछिल्लो समय चैते धानप्रति किसानको आकर्षण घट्दै गएको उनको भनाइ छ। प्रदेशका अरु जिल्लामा पनि चैते धानखेतीमा ह्रास आइरहेको छ।
“चैते धान भित्र्याउने बेला वर्षात्को याम पर्ने भएकाले पनि किसानलाई मर्का पर्ने गरेको छ, पानीमा भिजेको धान बेच्न समस्या हुन्छ, पराल पनि बिग्रन्छ”, प्रमुख भट्टराईले भने, “किसानले पछिल्लो समय चैते धानको सट्टा तरकारीलगायत नगदे बाली लगाउन थालेका छन्।”
चैते धानमा ‘सिएच’ ४५, चैते–२, चैते–६ लगायतका जातको खेती हुँदै आएको उनको भनाइ छ। बाह्रैमास सिँचाइ सुविधा भएको ठाउँमा मात्र किसानले चैते धान लगाउने गरेका छन्। तराईदेखि उच्च पहाडसम्म चैते धान फल्छ। किसानले चैतमा रोपेपछि असारमा धान भित्र्याउँछन्।
चैते धानको उत्पादन बर्खेको भन्दा दोब्बर हुने भए पनि बर्सेनि खेती हुने क्षेत्रफल भने घट्दै गएको छ। सिँचाइ असुविधा, गुणस्तीय बीउ, मलको अभाव, किसानले धानको उचित मूल्य नपाउनु, हावापानीको समस्या, घरघडेरीका नाममा उब्जाउ जग्गा नासिनु आदि कारणले चैते धानखेती घट्दै गएको हो।
निर्देशनालयका प्रमुख वासुदेव रेग्मीले चैते मात्र नभएर समग्र धानखेतीको क्षेत्रफल बर्सेनि घट्दै गएको उल्लेख गरे। ‘प्लटिङ’, तीव्र बजारीकरण, ठुल्ठूला भौतिक निर्माण आदिका कारण खेतीयोग्य जग्गा खुम्चँदै गएको उनको भनाइ छ।
जग्गा बाँझिने क्रम पनि बढ्दै गएको निर्देशनालयका प्रमुख रेग्मीले बताए। धान कम फल्नुमा क्षेत्रफल घट्नु मुख्य कारण भए पनि अन्य कुराले पनि उत्पादनमा प्रभाव पार्ने उनको भनाइ छ। बेलैमा मल, बीउ नपाउँदा पनि धानखेतीमा असर पर्ने गरेको किसान बताउँछन्। धानमा फूल खेल्ने समयमा वर्षात् हुँदा पनि उत्पादनमा क्षति पुग्ने गरेको छ । रोग, कीरा नियन्त्रण, उन्नत बीउ, मल व्यवस्थापनमा किसानले सधैँ चुनौती व्यहोर्दै आएका छन्।
निर्देशनालयका अनुसार गण्डकी प्रदेशमा समग्र धान (बर्खे र चैते) उत्पादनमा गत वर्षको तुलनामा तीन दशमलव ७४ प्रतिशतले कमी आएको छ। गत वर्ष चार लाख छ हजार तीन सय ३६ मेट्रिक टन धान फलेकामा चालु आवको उत्पादन जम्मा तीन लाख ९१ हजार एक सय २१ मेट्रिक टन छ।
अघिल्लो वर्ष एक लाख १२ हजार दुई सय २७ हेक्टरमा धान लगाइएकामा यस वर्ष क्षेत्रफल घटेर जम्मा एक लाख छ हजार तीन सय ८० हेक्टर धानखेतीले ओगटेको छ। गण्डकी प्रदेशमा बागलुङको गलकोट, बलेवा, ग्वालीचौर, गोरखाको पालुङटार, कास्कीको लेखनाथ, स्याङ्जाको आँधीखोला किनार, वालिङ, तनहुँको भिमाद, नवलपपुरको त्रिवेणी, मध्यविन्दु, पर्वतको फलेवासलगायत बढी धान उत्पादन हुने क्षेत्र हुन्। |
सिँचाइ मिटरको महसुल नगरपालिकाले भुक्तानी गर्ने गोलबजार। सिराहाको धनगढीमाई नगरपालिकाले कृषकको सिँचाइ मिटरको बिल भुक्तानी गर्ने भएको छ। नगरपालिकाले सूचना जारी गर्दै चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअनुरुप बिल भुक्तानी गर्न लागेको जनाएको छ।
किसानलाई प्रोत्साहन गर्न तथा कृषि क्षेत्रमा आधुनिकीकरण गर्ने उद्देश्यले ‘कृषि मिटरको विद्युत् महसुल भुक्तानी गर्ने कार्यक्रम’ अन्तर्गत नगरपालिकाले सिँचाइका विद्युत् महसुल भुक्तानी गर्ने धनगढीमाई नगरपालिका नगरप्रमुख शिवशङ्कर महतोले जानकारी दिए। नगरपालिकाले निःशुल्क बिजुली उपलब्ध गराउने भएपछि यहाँका कृषक खुसी भएका छन्।
धनगढी–१ का किसान बेचनीकुमारी यादव उत्पादनको मूल्य नपाएको तथा मल र बीउ समयमै प्राप्त गर्न नसकेको नगरपालिकाले महसुल तिर्ने कार्यक्रमबाट राहत मिलेको बताइन्। “सिँचाइ गर्न डिजेलपम्प चलाउँदा मर्कामा परेका थियौँ, निःशुल्क विद्युत् उपलब्ध गराउँदा राहत पाइने भयो”, उनले भने।
धनगढीमाई नगरपालिकाले सुरु गरको ‘कृषि मिटरको विद्युत् महसुल भुक्तानी गर्ने कार्यक्रम’ स्थानीय सरकारले सञ्चालन गरेको योजनामध्ये नमूना भएको स्थानीय श्याम यादवले बताए। यसबाट कृषक खेतीतर्फ आकर्षित हुने उनको भनाइ छ।
असार मसान्तसम्मको महसुल कृषक आफैँले र साउनदेखिको सिँचाइ महसुल नगरपालिकाले तिर्ने धनगढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपालप्रसाद बगालेले जानकारी दिए। उनले भने, “सिँचाइमा अनुदान दिए, कृषि क्षेत्र विस्तार भएमा कृषि उत्पादन बढ्ने र किसानको आर्थिक अवस्थामा पनि सुधार आउने छ।”
कृषि मिटरको महसुल भुक्तानीका लागि आगामी वैशाख ४ गतेभित्र निवेदन, नगरिकता प्रमाणपत्रको प्रतिलिपि, २०७९ असारसम्मको भुक्तानी गरेको बिजुलीको सक्कली रसिद तथा २०७९ साउनदेखिको भुक्तानी दिन बाँकी सक्कली बिल र वडा कार्यालयको सिफारिसपत्र कृषि विकास शाखामा पेस गर्नुपर्ने छ। |
गायक राजेशपायल राई नगर सद्भावना दूत नियुक्त खोटाङ। चर्चित गायक राजेशपायल राई खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नगर सद्भावना दूत नियुक्त भएका छन्।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४ बुईपामा जन्मिएका गायक राईलाई चैत १९ गतेको नगर कार्यपालिकाको बैठकले नगर सद्भावना दूत नियुक्त गर्ने निर्णय गरेको हो।
‘राई इज किङ’ का रुपमा नेपाली सांगीतिक क्षेत्रमा परिचित राईलाई नगरपालिकाको शान, मान र स्वाभिमानको रुपमा नगर सद्भावना दूत नियुक्त गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले जानकारी दिएका छन्।
‘हाम्रो निर्णयपछि गायक राई नगरपालिकाको समृद्धि र पहिचानका लागि नगर सद्भावना दुतको रुपमा सक्रिय रहनु हुनेछ,’ मेयर भट्टराईले भने, ‘उहाँको नियमित हुने देश-विदेशको भ्रमणले देश विदेशमा दिक्तेल नगरपालिकाको पहिचान अझ स्थापित हुनेमा विश्वस्त छौँ।’
नगरपालिकाले ३७ सदस्यीय थिंक ट्यांक (प्राज्ञ/विज्ञा समुह), २१ सदस्यीय प्रोजेक्ट बैंक सल्लाकार, २८ सदस्यीय समृद्ध नगर श्रोत व्यवस्थापन सल्लाहकार, नौ सदस्यीय अनुभवी सल्लाहकार र १९ सदस्यीय विभिन्न विद्याका सल्लाहकार चयन गरेको छ।
नगरपालिकामा देशका बरिष्ठ चित्रकारको उपस्थितिमा आगामी आर्थिक वर्ष अन्तर्राष्ट्रिय प्रत्यक्ष चित्रकला कार्यक्रम आयोजना गर्ने निर्णय गरिएको मेयर भट्टराईले जानकारी दिए। |
प्रकृतिलाई खुसी बनाउन भुमे पूजा बेनी। म्याग्दीका मगर समुदाय प्रकृतिलाई खुसी बनाउने ‘भुमे पूजा’मा जुटेपछि मगर बस्ती मौलिक सांस्कृतिक उत्सवमय भएको छ। रघुगंगा गाउँपालिकाको वडा नं १ बेग, बाँदुक, वडा नं ७ चिमखोलामा मंगलबार धुमधामका साथ भुमे पूजा गरिएको छ।
हरेक वर्ष चैत महिनाको उजेली मंषलबारका दिन परम्परागतरूपमा गरिँदै आइएको भुमे पूजालाई यस वर्ष पनि निरन्तरता दिएर पूजाआजा गरिएको हो।
खेती किसानी गर्ने परम्परागत पेसा अँगालेका मगर समुदायले वन, जङ्गलको छेउछाउमा बसोबास गर्ने भएकाले प्रकृतिलाई खुसी बनाएर कुनै प्राकृतिक प्रकोप र विपत्ति नहोस् भन्ने महोकांक्षाले भुमे पूजा गर्न सुरु गरेको पाइन्छ।
बर्खा लाग्नु अगाडि हुने यस पूजामा बाढी, पहिरो, असिनालगायतका प्राकृतिक प्रकोप नहोस् भन्ने कामनासहित प्रकृति पूजाको रूपमा भुमे अर्थात् भूमिको पूजा गर्ने प्रचलन रहेको रघुगंगा गाउँपालिका-७ चिमखोलाका वडाध्यक्ष थकबहादुर पाइजाले बताए।
उहाँका अनुसार मंगलबार चिमखोलामा एकैदिन भूमे, मन्डली र ताप्केभेरामा रहेको भुमेथानको पूजा गरिएको छ। चिमखोला गाउँको शिरमा रहेको ऐतिहासिक मन्डली थान र सेवाङमा रहेको भूमे थानमा आफ्नो मनोकामना पूरा हुने जनविश्वासले जिल्लाको विभिन्न ठाउँबाट सयौँको सङ्ख्यामा भक्तजनको सहभागिता रहेको थियो।
‘‘आपत्विपत्मा मण्डली र भुमे देवतलाई गुहार माग्ने गर्छौँ, आफ्नो मनोकांक्षा पूरा भएपछि भाकलस्वरुप थानमा आएर पन्च्योल स्वरुप पूजा गर्ने चलन छ”, अध्यक्ष पाइजाले भने।
चिमखोलामा मण्डली बजै र भुमे थानमा अहिलेसम्मकै धेरै भक्तजन आएका थिए। तीन सय बढीले पन्च्योल नै चढाएका छन्। भुमेथानमा साँढ, मण्डली बजैको थानलाई पाठीको बलि दिने गरिन्छ। मन्डली थानमा आएका भक्तजनले परेवा, नरिवललगायत चढाएरसमेत पूजा गर्छन्।
मन्डली थानको महिमाको प्रचार–प्रसार हुन थालेपछि हरेक वर्ष मन्डली थानमा पूजा गर्न आउनेहरूको सङ्ख्या बढेको थान संरक्षण एवं व्यवस्थापन समितिका अध्यक्ष याम रोकाले बताए। भुमे पूजाको अवसरमा यहाँ भुमे देवतालाई खुसी बनाउन कोदोको छ्याङ खाएर रमाइलो गर्ने प्रचलन रहेको छ।
गाउँसभाबाट भुमे पूजाका लागि एक महिनाअघि नै छ्याङ बनाउने जाँड राख्न छेमा (महिला) छनोट गरेपछि उनीहरूले विभिन्न टोलमा छुट्टाछुट्टै समूह बनाएर प्रत्येक घरबाट कोदो, चामल र नगद सङ्कलन गरी कोदोको छ्याङ बनाउन जाँड राख्ने चलन रहेको छ।
छेमाहरूले एक महिनाअघि राखेको जाँडलाई भुमेथान परिसरमा विधिपूर्वक चढाएर एक आपसमा खुसीयाली बनाउनका लागि खाने र भुमे देवतलाई खुसी बनाउन सोही छ्याङ र खाना पकाउँदा अँगेनामा आउने अंगारसमेत एकअर्कालाई दलेर रमाइलो गर्ने चलन रहेको छ।
भुमेथानमा मौलिक संस्कृतिअनुसार पूजा गरेपछि लोपोन्मुख अवस्थामा रहेको पुख्र्यौली सेदो गीत, भैच मायालेलगायतका गीतमा नाचगान गर्दै गाउँ फर्कँदा स्थानीय मण्डली युवा क्लबले ज्येष्ठ नागरिक र अगुवालाई काँधमा बोकेर सम्मान गर्ने प्रचलन छ।
यसैबीच भुमे पूजाको अवसरमा चिमखोलामा विविध सांस्कृतिक एवं खेलकुद मेलासमेत सुरु भएको छ। यता रघुगंगगा गाउँपालिका-१ बेग र बाँदुक गाउँमा समेत धुमधामका साथ भुमे पूजा गरिएको छ। भुमे पूजामा सरिक हुन सहरदेखि प्रवाससम्म छरिएर बसेका पनि गाउँ फर्कने गर्छन्।
यहाँ कुखुराको भाले, बोका र राँगोको बलि दिएर भुमे पूजा गर्ने प्रचलन रहेको छ। प्रकृृतिलाई खुसी बनाउन गरिने भुमे पूजाको महिमा बढ्दै गएको र देश तथा विदेशमा रहेकाहरू पनि गाउँ फर्कने गरेको स्थानीय महादेव माविका प्रअ दुतबहादुर गर्वुजाले बताए।
भूमे पूजामा मौलिक पुख्र्यौली नाचसँगै नौमती पञ्चेबाजामा नाचगान गरेर उत्सव मनाउने भएकाले यतिबेला मगर समुदायको बसोबास रहेका बस्ती उत्सवमय बन्न थालेका छन्।
मगर समुदायको बाक्लो बसोबास रहेको रघुगंगा-४ दग्नाम र दर्मिजामा भने जेठ महिनाको उजेली मंगलबार भुमे पूजा गरिन्छ भने वडा नं ६ पाखापानीमा वैशाखमा गर्ने प्रचलन छ। भुमे पूजाको अवसरमा भुमे थानसँगै खोलाखोल्सा र धुरीहरूमा रहेका अन्य देवी-देवताको समेत पूजा गर्ने प्रचलन रहेको दग्नामका स्थानीय अगुवा युवा गुन पुनले बताए। रासस |
पञ्चपुरीका तत्कालीन प्रमुखसहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको पञ्चपुरी नगरपालिकाका तत्कालीन प्रमुख उपेन्द्रबहादुर थापासहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
पञ्चपुरी नगरपालिकाले उद्यमशीलता साझेदारी परियोजनाअन्तर्गत नमुना गाउँ निर्माण कार्यक्रम सञ्चालनको लागि नमुना समाज सुर्खेतसँग सम्झौता गरी रकम भुक्तानी गर्दा २ करोड २० लाख रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले मंगलवार विशेष अदालत काठमाण्डौँमा मुद्दा दायर गरेको हो ।
अख्तियारले पञ्चपुरी नगरपालिकाका तत्कालीन नगर प्रमुख उपेन्द्रबहादुर थापाविरुद्ध ५० लाख विगो कायम गरी मुद्दा दायर गरेको छ ।
यसैगरी पञ्चपुरीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पित्रीभक्त गिरी विरुद्ध ३० लाख, अर्का प्रशासकीय अधिकृत हरिप्रसाद देवकोटाविरुद्ध २० लाख र लेखा अधिकृत मोहन बहादुर बुढाविरुद्ध ५० लाख रुपैयाँ विगो कायम गरी मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । |
जनप्रतिनिधिकै मिलोमतोमा अवैध उत्खनन, दुईवटा टिप्पर र एक जेसीभी प्रहरी नियन्त्रणमा सिरहा। अवैध रुपमा ग्राभेल उत्खनन गरिरहेका बेला सशस्त्र प्रहरीले दुईवटा टिप्पर र एउटा जेसीभी नियन्त्रनमा लिएको छ । जिल्लाको नरहा गाउँपालिका–३ नेपाली सेनाको २७ नम्वर बाहिनीसँगै टाँसिएको जग्गाबाट अवैध रुपमा रातको समयमा ग्राभेल उत्खनन गरिरहेको अवस्थामा ना १ ख ९७७९ नम्बरको जेसीभी, ना ८ ख ५४५४ र ना ३ ख ८६६२ नम्बरको टिप्पर सशस्त्र प्रहरी गोलबजारको टोलीले नियन्त्रणमा लिएको हो ।
अवैध रुपमा उत्खन्न गरिरहेको गोप्य सूचनाको आधारमा सशस्त्र प्रहरीको टोलीले सोमबार राति करिब ११ बजेको समयमा जेसीभी र टिप्परलाई नियन्त्रनमा लिएको सशस्त्र प्रहरी निरीक्षक हेमन्त सिंहले जानकारी दिए । ‘सूचना पाउनासाथ हाम्रो टोली पुगेर टिप्पर र जेसीभी नियन्त्रणमा लियाैँ, आवश्यक कारबाहीको लागि जिल्ला समन्वय समितिलाई पत्र पठाइएका छौँ,’ उनले भने ।
समन्वय समिति प्रमुख दिनेश महतोले नियन्त्रणमा लिएको जेसीभी र टिप्परलाई कानुन बमोजिम कारबाही गर्ने बताए। उनले भने, ‘विकास निर्माणको लागि ग्राभेल आवश्यक भए पनि प्रक्रिया मिचेर अवैध रुपमा रातिको समयमा उत्खनन गर्न मिल्दैन । यस्तो कार्य जोकोहीले गरेको भए पनि गलत हो । छिटै हामी बैठक बसेर यसबारे निर्णय लिन्छौँ ।’
यसअघि गत २९ फागुनमा समन्वय समितिले अनुगमनको क्रममा सोही ठाउँबाट तीनवटा स्काभेटर नियन्त्रणमा लिएको थियो । उनीहरुले जरिवाना रकम बुझाएर स्काभेटर फिर्ता ल्याएका थिए । खानी दर्ता, उत्खनन, भण्डारण र सञ्चालन समेतको नियमन गर्ने प्रमखु जिम्मा स्थानीय तहको भए पनि स्थानीय तह मौन देखिन्छ । उत्खनन गर्नेहरुले जनप्रतिनिधिहरुलाई पनि आर्थिक प्रभावमा पारी मनमौजी उत्खनन गरेको स्थानीयहरु बताउँछन्।
पर्यावरण मासिने गरि जथाभावी रुखहरु कटान गरी ग्राभेल उत्खनन् गर्दा पनि जनप्रतिधि भने मौनता साँधेर बसेका छन् । गोलबार नगरपालिका ९ र नरहा गाउँपालिका ३ बाट ४० फिटभन्दा गहिरो खाल्डो खनी अवैधरुपमा ग्राभेल निकाल्दा पनि जनप्रतिनिधि एक पटक अनुगमन गर्न समेत पुगेका छैनन् । यसले पनि उनीहरुको मिलेमत्तोको पुष्टि भएको स्थानीय युवाहरुको भनाइ छ।
नरहा गाउँपालिका अध्यक्ष रामप्रमोद यादव आफ्नो पालिकाबाट उत्खनन् भएको भन्ने आफूलाई जानकारी नै नभएको बताउँछन् । उनी भन्छन्, ‘हाम्रो गाउँपालिकामा अहिलेसम्म एउटा पनि खानी दर्ता छैन, मलाई ग्राभेल उत्खनन भइरहेको भन्ने जानकारी पनि छैन ।’ प्रहरी र समन्वय समितिले पटक पटक टिप्पर र स्काभेटर नियन्त्रणमा लिँदासमेत जनप्रतिनिधि आफूलाई केही जानकारी नै नभएको बताउँछन्।
वनक्षेत्रदेखि मुस्किलले २५ मिटरको दूरीबाट उत्खनन् गरी वनक्षेत्रको बाटो प्रयोग गर्दा पनि वन अधिकारी मौन बस्नुले मिलेमतो रहेको पुष्टि गर्छ।
जथाभावी उत्खननका कारण वरिपरि रहेका आँपका बगैंचा र पानीका स्रोतहरु प्रभावित हुन थालेका छन् । आँपका चिचिला नअडिने र पानीका मुहान सुक्न थालेको स्थानीय किसानहरुको गुनासो छ । |
मधेश सरकारबाट एमाले बाहिरियो जनकपुरधाम। मधेश सरकारबाट एमाले बाहिरिएको छ । मधेश प्रदेश सरकारमा सहभागी भएका मन्त्रीहरुले राजीनामा दिएका छन् ।
मुख्यमन्त्री सरोजकुमार यादवलाई एमालेबाट मन्त्री भएका भौतिक पूर्वाधार विकासमन्त्रीमा सरोजकुमार यादव, महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री पदमा मोहमद जयद आलम, गृह तथा सञ्चारमन्त्रीमा शत्रुधन प्रसाद सिंह, कानून, न्याय तथा प्रदेशसभा मामिला मन्त्रीमा राजकुमार लेखी र गृह तथा सञ्चार राज्यमन्त्री पदमा केशव रायले मंगलबार राजीनामा दिएका हुन् ।
गत २७ पुसमा एमालेको समर्थनमा जसपाका यादव मुख्यमन्त्री बनेका थिए । |
सेती प्रादेशिक अस्पतालमा कर्मचारी छनौटमा चलखेल भइरहेको प्रति सदस्य भट्टले गराए मेसुको ध्यानाकर्षण धनगढी । सेती प्रादेशिक अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मी छनौटमा व्यापक चलखेल भइरहेको आरोप लागेको छ।
प्रादेशिक अस्पतालले चिकित्सक, नर्सिङ कर्मचारी, अहेव, अनमी, ल्याब टेक्निसियिन लगायतको पदपूर्ति गर्ने भन्दै ७१ जनाका लागि विज्ञापन आह्वान गरेकोमा भर्ना प्रक्रियामा चलखेल भइरहेको आरोप लागेको हो।
६ चैतमा अस्पताल प्रशासनले ७ दिने सार्वजनिक सूचना जारी गर्दै ८ जना नवौँ तहका विशेषज्ञ चिकित्सक, ६ जना मेडिकल अधिकृत, ३५ जना स्टाफ नर्ससहितका ७१ जनाका लागि दरखास्त माग गरेको थियो। सबै पदमा एक हजार ८३ जनाले आवेदन दिएका छन्।
अस्पतालले करार सेवामा चिकित्सक तथा स्वास्थ्यकर्मी व्यवस्थापन मापदण्ड २०७९ अनुसार माग गरिएका कर्मचारी पदपूर्ति गर्नुपर्ने भए पनि आर्थिक र राजनीतिक चलखेल व्यापक भइरहेको सार्वजनिक भएको हो।
अस्पताल व्यवस्थापन समितिका सदस्य डिल्लीराज भट्टलेसमेत चिकित्सक र स्वास्थ्यकर्मीं छनौटमा कुनै दबाब र प्रभावमा नपर्न अस्पताल प्रशासनको ध्यानाकर्षण गराएका छन्।
मंगलबार अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर हेमराज पाण्डेलाई ध्यानाकर्षण पत्र बुझाउँदै कर्मचारी पदपूर्तिमा कसैको दवाव र प्रभावमा परेर क्षमतावान, अनुभव र दक्ष कर्मचारी अवसर नपाउने हुन भन्ने चिन्ता सिर्जना भएको बताए।
उनले पदपूर्ति गदा ऐन, नियम, कानून तथा मापदण्डअनुसार पदपुर्ति गर्नुपर्ने भन्दै स्वास्थ्य सेवा संवेदनशिल भएका हुँदा सबै नागरिकलाई अनुभूति हुनेगरी प्रचलित संविधानको परिधिभित्र रही सेवा प्रदान गर्न निर्देशन समेत दिएका छन्।
व्यवस्थापन समितिमा कुनै न कुनै राजनीतिक दलसँग आस्था र विचार राख्ने व्यत्ति भए पनि अस्पतालको विकासका लागि दलगत वा राजनीतिक स्वार्थभन्दा माथि उठेर काम गर्ने प्रतिबद्धता समेत जनाएका छन्।
|
जनशक्ति अभावमा भिडियो एक्स-रे मेसिन प्रयोगविहीन तनहुँ। जिल्लाको बन्दीपुर अस्पतालमा जनशक्ति अभावमा भिडियो एक्स-रे मेसिन लामो समयदेखि प्रयोगविहीन बन्दै आएको छ।
अघिल्ला जनप्रतिनिधिको कार्यकालमा खरिद गरेको उक्त मेसिन अहिले जनप्रतिनिधि निर्वाचित भएर आएको एक वर्ष बित्न लाग्दा पनि सञ्चालनमा ल्याउन सकिएको छैन। तीन/चार वर्षदेखि एक्स-रे मेसिन प्रयोगविहीन हुँदा सेवाग्राहीले सेवा लिनबाट बञ्चित हुनुपरेको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए।
स्वास्थ्य मन्त्रलालयबाट रेडियोग्राफीका लागि पटक-पटक अनुरोध गरे पनि व्यवस्था हुन नसकेको उनले बताए। “आगामी बर्षदेखि सञ्चालनमा ल्याई सेवा प्रवाह गर्ने योजना बनाएका छौँ”, उनले भने, “जनशक्तिको अभावमा नागरिकलाई भिडियो एक्स–रे सेवा दिन नसक्दा कठिनाइ भोग्नुपरेको छ।”
उक्त अस्पताल १५ शय्या क्षमताको छ। अस्पतालबाट आँखा, प्रसूति, दाँत, ल्याव, फार्मेसीलगायतका सेवा प्रवाह गरिएको छ। एमबिबिएस डाक्टर दुई, हेल्थ असिस्टेन्ट चार, स्टाफ नर्स तीन, ल्याव तीन, फार्मेसी दुई, प्रशासन दुई र एक्स-रेमा एक गरी ४४ जना जनशक्ति छन्।
उक्त अस्पतालमा दैनिक ७० देखि एक सयको हाराहारीमा बिरामीहरु उपचारका लागि आउने गरेको अस्पतालका चिकित्सक आशीष अधिकारीले जानकारी दिए।
अस्पतालमा रुघाखोकी, दम, सुगर, प्रेसर, मुट, क्यान्सर लगायतका बिरामीको चाप बढी हुने गरेको छ। महिलाहरुको पाठेघरको क्यान्सर भए/नभएको जाँचका लागि दैनिक भिआइए परीक्षणको निःशुल्क व्यवस्था मिलाइएको छ। |
बन्दीपुर अस्पतालमा जनशक्ति अभावले भिडियो एक्स-रे मेसिन प्रयोगविहीन तनहुँ । जिल्लाको बन्दीपुर अस्पतालमा जनशक्ति अभावमा भिडियो एक्स(रे मेसिन लामो समयदेखि प्रयोगविहीन बन्दै आएको छ ।
अघिल्ला जनप्रतिनिधिको कार्यकालमा खरिद गरेको उक्त मेसिन अहिले जनप्रतिनिधि निर्वाचित भएर आएको एक वर्ष बित्न लाग्दा पनि सञ्चालनमा ल्याउन सकिएको छैन । तीन÷चार वर्षदेखि एक्स-रे मेसिन प्रयोगविहीन हुँदा सेवाग्राहीले सेवा लिनबाट बञ्चित हुनुपरेको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए।
स्वास्थ्य मन्त्रलालयबाट रेडियोग्राफीका लागि पटक-पटक अनुरोध गरे पनि व्यवस्था हुन नसकेको उनले बताए। “आगामी बर्षदेखि सञ्चालनमा ल्याई सेवा प्रवाह गर्ने योजना बनाएका छौँ”, उनले भने, “जनशक्तिको अभावमा नागरिकलाई भिडियो एक्स–रे सेवा दिन नसक्दा कठिनाइ भोग्नुपरेको छ ।”
उक्त अस्पताल १५ शय्या क्षमताको छ । अस्पतालबाट आँखा, प्रसूति, दाँत, ल्याव, फार्मेसीलगायतका सेवा प्रवाह गरिएको छ । एमबिबिएस डाक्टर दुई, हेल्थ असिस्टेन्ट चार, स्टाफ नर्स तीन, ल्याव तीन, फार्मेसी दुई, प्रशासन दुई र एक्स-रेमा एक गरी ४४ जना जनशक्ति छन् ।
उक्त अस्पतालमा दैनिक ७० देखि एक सयको हाराहारीमा बिरामीहरु उपचारका लागि आउने गरेको अस्पतालका चिकित्सक आशीष अधिकारीले जानकारी दिए।
अस्पतालमा रुघाखोकी, दम, सुगर, प्रेसर, मुट, क्यान्सर लगायतका बिरामीको चाप बढी हुने गरेको छ । महिलाहरुको पाठेघरको क्यान्सर भए÷नभएको जाँचका लागि दैनिक भिआइए परीक्षणको निःशुल्क व्यवस्था मिलाइएको छ । |
पर्साका ६४ व्यावसायिक फर्ममाथि कारबाही वीरगञ्ज। बिनाअनुमति सञ्चालन भएका तथा तोकिएको मापदण्डविपरीत सामान बिक्री गर्ने पर्साका ६४ व्यावसायिक फर्ममाथि कारबाही गरिएको छ।
अनुगमनका क्रममा म्याद गुज्रेका सामान बिक्री गर्ने, मूल्यसूची नराख्ने, खरिद बिल नकाट्ने र इजाजत नलिएका ६४ व्यावसायिक फर्ममाथि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्ज पर्साले कारबाही गरेको हो।
चालु आर्थिक वर्ष २०७९/८० को आठ महिना अवधिमा ती व्यावसायिक फर्ममाथि गरिएको कारबाहीबाट रु एक लाख ४९ हजार राजस्व सङ्कलन भएको सो कार्यालयका सूचना अधिकारी दिलीप खङ्ग खत्बेले जानकारी दिए।
यस्तै चालु आव २०७९/८० को आठ महिना अवधिमा प्राइभेट र साझेदारी फर्म गरी दुई सय ४३ वटा व्यावसायिक फर्म दर्ता भएको जनाएको छ। सो अवधिमा एक हजार छ सय ३९ प्राइभेट फर्म र ४३ साझेदार फर्मको नवीकरण गरिएको र ६ सय ७७ प्राइभेट तथा १३ साझेदार फर्म संशोधन गरिएको सूचना अधिकारी खङ्गले बताए।
यस्तै उक्त अवधिमा एक सय ७५ वटा प्राइभेट र पाँचवटा साझेदार फर्मको दर्ता खारेज गरिएको उनले जानकारी दिए। ती सबै शीर्षकबाट रु ८० लाख ३४ हजार तीन सय राजस्व सङ्कलन भएको सूचना अधिकारी खङ्गले बताए। म्याद गुज्रिएको सामान बिक्री गर्ने, खरिद र बिक्री बिल नकाट्ने तथा मूल्यसूची नराख्ने प्रवृत्ति बढेकाले बजार अनुगमनलाई निरन्तता दिएको कार्यालय प्रमुख सुरेशकुमार रेग्मीले जानकारी दिए। |
उखुखेती प्रवद्र्धन गर्दै रामपुरका युवा रामपुर। उखुुखेती लोपोन्मुख हुन थालेपछि यहाँका युवाले सामूहिक खेती सुरुआत गरेका छन्। यहाँका १० युवाले जग्गा भाडामा लिएर व्यावसायिक खेती गर्न थालेका हुन्। रामपुर नगरपालिका वडा नं ५ भम्बकमा करिब १५ रोपनी जग्गा भाडामा लिएर स्थानीय जातको उखुलाई प्रवद्र्धन गर्ने उद्देश्यले उखुखेती सुरु गरेको युवा विष्णुप्रसाद गौतमले बताए।
उनले भने, “पहिला उखुले भरिने बारी अहिले बाँझिन पुगेका छन्, हिजोआज गाउँमा बसेर बाहिरबाट उखु किनेर खाने अवस्था आयो, उखुखेतीलाई प्रवद्र्धन र संरक्षण गर्न व्यावसायिक खेतीमा युवाहरू लागेका छौँ।” यहाँ वैदेशिक रोजगारबाट गाउँ फर्केका, विभिन्न पेसा, व्यवसायमा रहेका युवा आबद्ध छन्।
रामपुरमा बर्सेनि बाहिरबाट खुदोको मात्रा धेरै भित्रिने भएकाले आयातदर घटाएर यहीँको उत्पादनले बजार थेग्ने सोचका साथ व्यावसायिक खेतीको अभियान सुरु गरेको युवा सन्तोष पौडेल बताउँछन्। उनी वैदेशिक रोजगारका क्रममा सिङ्गापुर, थाइल्यान्ड, मलेसिया, इन्डोनेसिया गरी पाँच वर्षसम्म बसेर स्वदेश फर्केका हुन्।
“विदेशमा अर्काको अधिनमा रहेर दैनिक १२ देखि १५ घन्टा काम गर्नुपर्ने, अरुको देशमा काम गर्न सहज छैन, आफ्नै देशमा दैनिक एक–दुई घन्टा काम गर्ने हो भने विदेशमा कमाउने धन यहीँ आर्जन गर्न सकिन्छ”, उनले भने।
कालीगण्डकी करिडोर सडकखण्ड नजिकै रहेको जग्गामा युवाले सामूहिक खेती सुरु गरेका हुन्। यहाँको बजारमा खपत नभएको अवस्थामा बाहिर लैजानलाई सहज बनाउँदै करिडोर आसपासका जग्गा थप गर्दै खेती विस्तार गर्ने सोच रहेको युवा पिताम्बर गौतमले जानकारी दिए। उनी पनि वैदेशिक रोजगारको अनुभवपश्चात गाउँमै बसेर केही नयाँ कार्य गर्नुपर्छ भन्ने मनसाय बोकेर सामूहिक खेतीमा गाउँका युवासँग हालेमालो गरेर अगाडि बढ्दै छन्।
सडक सञ्जालसँग जोडिएको हुँदा पनि नारायणघाट, बुटवल, पोखरामा रामपुरको उखु खपत गर्ने युवाको योजना छ। गाउँका जग्गा सदुपयोग गर्न नसक्दा त्यसै खेर गइरहेका छन्। हिजो हाम्रा बाउबाजेले उत्पादन गरेका वस्तु अहिले गाउँमा हराउन पुगेको हुँदा आफ्नै उत्पादनमा आत्मनिर्भर बन्न गाउँका युवालाई प्रेरणा दिँदै उखुखेती लगाउने अभियानमा जुटेको सुरज गौतम बताउँछन्।
रामपुरमा अहिले गुल्मी, तराई क्षेत्रबाट ठूलो परिमाणमा खुदो आयात भइरहेको छ। चिनी, खुदो, गुडजन्य पदार्थ बाहिरबाट धेरै भित्रिन्छ। बाहिरबाट आयातित सामग्रीलाई कम गरी स्थानीय उत्पादनलाई बढावा दिन युवाले गरेको यस कार्यको अन्यले पनि सिको गर्नुपर्नेछ। रामपुरमा मात्रै वार्षिकरूपमा करिब रु ५० लाख बराबरको खुदो भित्रिने गरेको पाइएको छ।
अहिलेलाई बीउ उत्पादन गरी क्षेत्र विस्तार गर्ने लक्ष्य रहेको र निकट भविष्यमा यहाँका खाली जग्गामा उखु लगाएर पकेट क्षेत्र बनाउने गरी खेती सुरु गरेको कैलाश लम्सालले बताए। हाललाई करिब रु दुई लाखको लगानी बीउबिजन, मलजलमा खर्च भएको छ।
व्यावसायीक खेती गरेमा उखुको उत्पादनका लागि यो क्षेत्र उपयुक्त रहेको रामपुर नगरपालिकाका कृषि शाखा प्रमुख रामहरि पाण्डेय बताउँछन्। व्यावसायिक खेती गर्न चाहनेलाई नगरपालिकाले पकेट कार्यक्रम सञ्चालन गरेर सहयोग गर्ने शाखा प्रमुख पाण्डेयले बताए।
“पछिल्लो समय बाहिरबाट खुदो, गुँड, भ्याली आयात भइरहेको अवस्थामा उखुको व्यावसायिक उत्पादन अतिआवश्यक रहेको छ”, उनले भने, “उखु र उखुबाट उत्पादित विभिन्न वस्तुको माग बजारमा बढ्दो रहेको हुँदा कृषकले व्यावसायिक खेतीबाट मनग्य आम्दानी गर्न सक्नेछन्।”
राम्रै मलजल भएको खण्डमा कम्तीमा छदेखि आठ महिनासम्म उत्पादन दिन समय लाग्दछ। वर्षको तीन बाली उत्पादन हुने जग्गामा उखु लगाएर एकै वर्षमा धेरै आयआर्जन गर्न सकिने जनाइएको छ। |
दिक्तेल बजारमा ‘जेब्राक्रस’ तथा ‘स्पिड ब्रेकर’ निर्माण खाेताङ। जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारका विभिन्न ठाउँमा पैदलयात्रु आवतजावत गर्ने स्थान (जेब्राक्रस) तथा तीव्रगति नियन्त्रण गर्ने स्थल (स्पिड ब्रेकर) निर्माण सुरु गरिएको छ।
बढ्दो सवारी चापका कारण हुनसक्ने दुर्घटनालाई न्यूनीकारण गर्ने उद्देश्यका साथ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङको सहकार्यमा ती काम थालिएको हो।
दिक्तेल बजारस्थित किरात चोकमा सोमबार जेब्रा क्रसको रेखा कोरेर कामको सुरुआत गरिएको छ।
नगरपालिकाको रु नौ लाख ९३ हजार आठ सय सातमा सम्पन्न हुने जेब्राक्रस तथा स्पिड ब्रेकर कार्यक्रमको शुभारम्म नगरप्रमुख तीर्थराज भट्टराई, प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईँ र प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले संयुक्तरूपमा जेब्रा क्रसको रेखा कोरेर गरेका हुन्।
आगामी असार मसान्तसम्म सम्पन्न गर्ने गरी नगरपालिकाबाट स्वीकृत भएको ‘होम्स तथा सडक मर्मत कार्यक्रम’ अन्तर्गत दिक्तेल बजारका विभिन्न १६ ठाउँमा स्पिड ब्रेकर तथा १० ठाउँमा जेब्राक्रस निर्माण गर्नुपर्ने सम्झौतापत्रमा उल्लेख छ।
सजीव निर्माण सेवा कम्पनी खोटाङले कोटेशनमार्फत जिम्मा लिएको कार्यक्रमअन्तर्गत अल्छेढुङ्गा-अस्पताल चोक सडकखण्डमा कजवेसमेत निर्माण गर्नुपर्ने जनाइएको छ।
सम्झौताअनुसार विभिन्न १० ठाउँमा स्पिड ब्रेकरको कामसमेत सुरु गरिएको कम्पनीका प्रतिनिधि श्यामकुमार पौडेलले जानकारी दिए।
“जेब्राक्रसको काम दुई-तीन दिनभित्रै सम्पन्न गर्छौं। स्पिड ब्रेकरका लागि १० ठाउँमा फलामे डण्डी बिछ्याउने काम सम्पन्न गरिसकेका छौँ”, उनले भने, “पहिलो चरणमा एकातर्फको सम्पन्न गरेर पुनः अर्कोतर्फ निर्माण गर्ने योजना बनाएका छौँ। तोकिएको समयभन्दा अगाडि नै सम्पन्न गरेर सम्बन्धित निकायलाई हस्तान्तरण गर्छौँ।”
ढलानको काम भइरहेको दिक्तेल बजारको सडकमा स्पिड ब्रेकर तथा जेब्राक्रस नहुँदा यसअघि पटक-पटक दुर्घटना हुँदै आएको छ। सवारी सञ्चालन गर्दा तीव्रगतिका कारण हुनसक्ने सम्भावित दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले स्पिड ब्रेकर तथा जेब्राक्रस बनाउन नगरपालिकाको तर्फबाट आर्थिक एवं प्राविधिक सहयोग गरिएको नगरप्रमुख भट्टराईले जानकारी दिए।
गत जेठ २० गते मोटरसाइकलको ठक्करबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) खोटाङका निवर्तमान जिल्ला अध्यक्ष जीवनकुमार श्रेष्ठको निधनसमेत भएको थियो।
दिक्तेल बजारस्थित आफ्नै घर नजिक रहेको सपिङ कम्प्लेक्स अगाडि प्रदेश१–०५–००१प ६८३७ नंको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका ५६ वर्षीय नेता श्रेष्ठको उपचारका क्रममा निधन भएको हो। |
डाइभर्सनकाे कामले सिद्धबाबा सडक क्षेत्र मंगलबारदेखि अवरुद्ध हुने भैैरहवा। बुटवल पाल्पा सिद्धवावा सडक मंगलवारदेखि अबरुद्ध हुने भएको छ।
सिद्धबाबा सुरुङ मार्ग निर्माण व्यवसायी चाईना स्टेट कन्स्ट्रक्सन ईन्जिनियरिङ कर्पोरेसनले रामा पिथेकस पार्क नजिकको क्षेत्रमा सडक डाईभर्सनको कार्य सुरु गरेकाले दैनिक दुइ पटक दिउसो र राति सडक अबरुद्ध हुने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेयले बताए।
सुरुङ मार्ग निमार्णका क्रममा सडक माथिवाट खुकुला ढुङ्गाहरु पहरोबाट झरी कार्य गर्न जोखिम भएकाले खुकुला ढुंगाहरु खसाल्न सडक यातायात आवागमन बन्द गर्ने निर्णय भएको र बन्दका समयमा बैकल्पिक सडक प्रयोग गर्न पनि प्रमुख जिल्ला अधिकारी पाण्डेयले आग्रह गरेका छन्।
सोमबार सरकोकारवाला निकायसँगको बैठकले राष्ट्रिय महत्वको सुरुङ मार्ग निर्माणमा सहजीकरण गर्न आवश्यक देखिएकोले मंगलबार बिहान ११ बजेदेखि अपरान्ह २ बजेसम्म र राति १० बजेदेखि विहान ४ बजेसम्म अर्को सूचना जारी नहुँदासम्म सवारी साधन आवतजावत बन्द गरी सुरक्षित साथ कार्य गर्न स्वीकृति दिने निर्णय गरेको प्रजिअ पोण्डेयले जानकारी दिए।
सडक अबरुद्धका समयमा बेलवास-दोभान सडक खण्ड बैकल्पिक रुपमा प्रयोग गर्न पनि बैठकले आग्रह गरेको छ। साना तथा निजी गाडीहरु र अत्यावश्यक सवारी साधनहरुलाई उक्त बैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।
साथै उक्त सडकलाई ब्यवस्थित रुपमा संचालन गर्नका लागी आवश्यक पुर्वाधार मर्मत कार्य गर्न परियोजनालाई आग्रह गरेको छ। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेयको अध्यक्षतामा बसेको बैठकमा रुपन्देहीका सुरक्षा निकाय, यातायात ब्यावसायी, संचारकर्मीलगायतको सहभागीता रहेको थियो। |
नयाँ वर्षदेखि एकै स्थानबाट सेवा दिने तयारीमा कामपा काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी वैशाख १ गतेदेखि काठमाडौँ प्लाजाबाटै नागरिकलाई सेवा दिने तयारी गरेको छ ।
यही हप्ता प्रशासन विभाग सर्ने तयारी गरेको कामपाले विस्तारै अन्य विभाग पनि स्थानान्तरण गरी एकै स्थानबाट सेवा दिने तयारी गरेको छ । अहिले कामपाको १४ विभागीय र ५८ महाशाखाले भाडाकै घरबाट विभिन्न १० स्थानबाट सेवा दिइरहेका छन् ।
कामपाका सहायक प्रवक्ता दीपक अधिकारीका अनुसार अहिले प्लाजामा सरसफाइ गर्ने काम इन्टरनेट राख्ने काम, कोठा विभाजनको काम भइरहेको छ । “ती काम सकेसँगै सबै विभाग स्थानान्तरण हुने हो । मर्मत सकिएको विभागमा क्रमिकरूपमा सरेर नागरिकलाई सेवा दिनेछौँ”, सहायक प्रवक्ता अधिकारीले भने, “सर्नका लागि जति आलटाल ग¥यो कामपालाई उत्तिनै घाटा लाग्छ, दुईतिर भाडा दिर्नुपर्छ त्यसैले सक्दो छिटो मर्मतको काम गरी सर्ने तयारी गरिएको छ ।”
सबै सेवा एकै ठाउँबाट उपलब्ध गराउने उद्देश्यअनुसार महानगर काठमाडौँ प्लाजामा सर्न लागेको हो । नेपाल ट्रष्टको स्वामित्वमा रहेको काठमाडौँ प्लाजामा सर्नका लागि कामपा र ट्रष्टबीच यही चैत ८ गते सम्झौता भएको थियो ।
प्रशासनसँगै क्रमशः कामपाको मिसिल शाखा, सहकारी विभाग, जिल्ला समन्वय समितिमा रहेका विभाग काठमाडौँ प्लाजामा सार्ने तयारी छ । सम्झौताबमोजिम झ्याल, ढोका र लिफ्टसहित बिग्रिएका र भत्किएका संरचना बहाल रकमबाट कटाउने गरी कामपाले मर्मत गर्नेछ । प्रत्येक पाँच वर्षमा १० प्रतिशतले बहाल वृद्धि गर्ने गरी १० वर्षका लागि सम्झौता भएको छ ।
पाँच रोपनी दुई पैसा क्षेत्रफलमा निर्माण भएको उक्त सात तले भवनको तल्लो तलामा ७० वटा चारपाङ्ग्रे र दुई सय दुईपाङ्ग्रे सवारीसाधन पार्किङ गर्न सकिन्छ । विसं २०७२ को भूकम्पअघि कामपाको सबै सेवा ऐतिहासिक बागदरबारबाट प्रवाह भइरहेको थियो । हाल सुन्धारामा रहेको जेडिए कम्प्लेक्समा प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतको सचिवालय, वित्त, प्रशासन, कानून तथा मानव अधिकार, आन्तरिक लेखापरीक्षण एकाइ, खरिद एकाइ छन् ।
राजस्व, सार्वजनिक निर्माण र सहरी व्यवस्थापन विभाग बबरमहलमा छन् । सहकारी विभाग बिजुली बजार र सहरी योजना आयोगको कार्यालय थापाथलीमा छ । टेकुमा उद्यान तथा हरियाली प्रवर्द्धन आयोजना, वातावरण व्यवस्थापन विभाग, जग्गा एकीकरण आयोजनाका कार्यालय र मिसिल शाखा छन् । कृषि तथा पशुपक्षी विभाग र शिक्षा विभाग ताहाचलमा छ । |
दुई करोड लगानीमा दाना उद्योग सञ्चालनमा नवलपुर। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा रहेको मुकुन्दसेन दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले दाना उद्योग सञ्चालनमा ल्याएको छ। गैँडाकोट–११ हर्कपुरमा रहेको सहकारीले रु एक करोड ९४ लाख ८५ हजार दुई सय ६४ लगानीमा उद्योग सञ्चालनमा ल्याएको हो।
कृषि तथा पशुपक्षी विकास मन्त्रालय, नेपाल लाइभस्टक सेक्टर इनोभेशन आयोजना, विकेन्द्रीकृत आयोजना सहयोग एकाइ पोखराको ५० प्रतिशत अनुदान र सहकारीको ५० प्रतिशत लगानीमा गैँडाकोट–११ मा ‘मुकुन्दसेन दाना उद्योग’ सञ्चालनमा ल्याइएको संस्थाका अध्यक्ष गोपाल श्रेष्ठले जानकारी दिए।
संस्थाका अध्यक्ष श्रेष्ठले उद्योग सञ्चालनका लागि संस्थागत लगानी रु ३९ लाख चार सय ६२, बैंक ऋण रु ५८ लाख ४८ हजार छ सय २४ तथा आयोजना अनुदान रु ९७ लाख ३६ हजार एक सय ७८ रहेको जानकारी दिए। दाना उद्योगमा पेलेट दाना र मास दाना गरी दुई किसिमको दाना उत्पादन हुँदै आएको उनको भनाइ छ।
मास दाना (धुलो दाना) बनाउनका लागि १३/१४ प्रकारका कच्चापदार्थसँगै प्रोटिनको प्रयोग गरिने अध्यक्ष श्रेष्ठले बताए। मास दानालाई मेसिनले धुलो बनाउने हुँदा पशुलाई खान र पचाउन सजिलो हुने उनले बताए। उद्योगबाट उत्पादित पेलेट दाना (गोटीवाला दाना) स्टिम गरेर बनाइने भन्दै उहाँले मास दाना बनिसकेपछि सोही दानालाई स्टिम गरेर गोटीको आकार दिइने श्रेष्ठले बताउनुभयो । पेलेट दाना पहिला नै स्टिम गरिएको हुनाले पशुलाई यो दाना पचाउन झनै सजिलो हुने उनको भनाइ छ।
उद्योगमा उत्पादन हुने दानामा मकै, धानको ढुटो, चोक्कर, डिओसी, मुलासेस, भटमास, तोरीको पिनासहितका कच्चा पदार्थ तथा प्रोटिनका लागि लाइभस्टोन भन्ने चुनढुङ्गा प्रयोग गरिने उनको भनाइ छ । सकेसम्म नेपालमै उत्पादन भएका कच्चा पदार्थलाई दाना बनाउन प्रयोग गरिने उनको भनाइ छ। गैँडाकोटमा दाना उद्योग सञ्चालनमा आएपछि पशुपालन गर्ने कृषकलाई सहज भएको अध्यक्ष श्रेष्ठले बताए।
जनतालाई फाइदा हुने गरी गुणस्तरीय उत्पादनमा ध्यान पुर्याइएको उनको भनाइ छ। मुकुन्दपुर क्षेत्रको दूध व्यवस्थित गर्दै कृषकलाई आर्थिकरूपमा सबल बनाउने कार्यमा सहकारी लागिरहेको छ। दाना उद्योग सञ्चालनमा आएपछि गैँडाकोटको मुकुन्दपुर, अमरापुरी र रजहर क्षेत्रका कृषक प्रत्यक्ष लाभान्वित हुने विश्वास लिइएको छ।
दाना उद्योगमा उत्पादन भएको दानाले मुकुन्दसेन दुग्ध उत्पादक सहकारी संस्थाका सदस्यसँगै अन्य पशुपालक कृषकले सहजै किन्न पाएपछि खुसी व्यक्त गरेका छन्। गैँडाकोट–११ का उमाकान्त पौडेलले अमृत गाई फर्म सञ्चालन गर्दै आउनुभएको छ । मुकुन्दसेन दाना उद्योग सञ्चालन भएपछि दाना चोक्करका लागि सधैँ टाढा धाइराख्नुपर्ने समस्या हटेको उनले बताए।
संस्थाको मातहातमा एक सय ५० वटा व्यावसायिक पशुपालन फार्म दर्ता भएका छन्। ६ सय ५० जना कृषक दुग्ध व्यवसायमा संलग्न रहेका छन् भने सहकारीमा दैनिक १५ हजार लिटर दूध सङ्कलन हुँदै आएको छ। विसं २०५३ मा स्थापित संस्थामा हाल आठ सय ९० जना शेयर सदस्य छन्। |
मिटरब्याजीको आरोपमा जनमत पार्टीका केन्द्रीय सदस्य सुरेन्द्र मधेसी पक्राउ सप्तरी। मिटरब्याजीको आरोपमा जनमत पार्टीका केन्द्रीय सदस्य सुरेन्द्र मधेशी पक्राउ परेका छन्। सप्तरीको राजविराजबाट सोमबार बिहान उनलाई प्रहरीले पक्राउ गरेको हो।
मिटरब्याजी पीडित काठमाडौं पुगेर न्यायका लागि संघर्ष गरिरहेका बेला उनी पक्राउ परेका हुन्। गत शनिबार पीडितसँग पाँच बुँदे सहमति गरेको सरकारले मिटरब्याजीलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाएको थियो।
साथै मिटरब्याजीलाई तत्काल पक्राउ गरी कारबाही गर्नुपर्ने आवाज प्रतिनिधिसभामा उठेको थियो। |
शुक्लाफाँटामा जग्गा कित्ताकाट खुला कञ्चनपुर। शुक्लाफाँटा नगरपालिकामा जग्गा कित्ताकाट खुला गरिएको छ। जग्गा वर्गीकरण गर्ने कार्य पूरा नहुँदा छ महिनादेखि जग्गासम्बन्धीका कार्य अगाडि बढ्न सकेका थिएनन्।
नगरपालिकाको स्थानीय भूउपयोग परिषद्ले क्षेत्राधिकारभित्रको जग्गाको वर्गीकरणको सूचना राजपत्रमा प्रकाशित गरेसँगै जग्गा कित्ताकाटको कार्य खुला भएको हो। राजपत्रमा नगरपालिकाले भूउपयोग ऐन र नियमावलीअनुसार भूउपयोग क्षेत्र कित्तागत विवरण, भूउपयोग परिषद्बाट स्वीकृत नक्सा र भूउपयोग क्षेत्र वर्गीकरणसम्बन्धी मापदण्ड तथा आधारलाई अन्तिम रुप दिएको छ।
नगरपालिकाले नगर क्षेत्रको २१ हजार चार हजार नौ कित्ताको वर्गीकरण गरेको छ। नगरपालिकाको नापी शाखाका प्रमुख हेमराज अवस्थीका अनुसार कृषि क्षेत्र २२ दशमलव २१ प्रतिशत, आवासीय क्षेत्र १२ दशमलव ५० प्रतिशत, व्यावसायिक क्षेत्र १ दशमलव ४०, औद्योगिक क्षेत्र शून्य दशमलव १७, खानी तथा खनिज क्षेत्र शून्य दशमलव ०३ प्रतिशतका क्षेत्रमा वर्गाीकरण गरिएको छ।
यसैगरी, वन क्षेत्र ५४ दशमलव १५, सार्वजनिक उपयोग क्षेत्र, तीन दशमलव ८९ प्रतिशत सांस्कृतिक तथा पुरातात्विक महत्वको क्षेत्र शून्य दशमलव ०८ प्रतिशत नदी खोला तथा सिमसार क्षेत्र पाँच दशमलव ५१ प्रतिशत क्षेत्रमा वर्गीकरण गरिएको छ। नगरपालिकाको कूल क्षेत्रफल १६३५८१४५ दशमलव छ वर्गमिटर रहेको छ।
आवासीय प्रयोजनको लागि वर्गीकृत क्षेत्रबाहेकका अन्य क्षेत्रमा कुनै पनि प्रयोजनले व्यावसायिकरुपमा घडेरी विकसित गर्न र सोको बिक्री वितरण गर्न नमिल्ने भूउपयोग नियमावलीले व्यवस्था गरेको छ। “भूउपयोग नीति २०/२५ वर्ष अगाडि बनेको भए धेरै काम हुन्थ्यो”, नगर प्रमुख रण बहादुर महराले भने, “ढिलै भए पनि भूउपयोग क्षेत्रको वर्गीकरण गरेका छौँ, यसले कृषि क्षेत्रको जग्गा संरक्षण र आगामी नीति तथा योजना बनाउन सहज हुने छ।”
नगरापलिकाका सबै जनप्रतिनिधि र कर्मचारीको सहकार्यबाट भूउपयोग क्षेत्रको वर्गीकरण गर्न सफल भएको उनले बताए। सरकारले भूउपयोग नियमावली बनाएसँगै सबै पालिकामा जग्गाको वर्गीकरण गर्ने काम भइरहेको नापी कार्यालय कञ्चनपुरका प्रमुख पुष्करराज पालले बताए। उनका अनुसार कञ्चनपुरका नौ पालिकामध्ये भूउपयोग क्षेत्रको वर्गीकरण गर्नेमा शुक्लाफाँटा दोस्रो बनेको छ।
भीमदत्त नगरपालिकाले यसअघि भू–उपयोग क्षेत्रको वर्गीकरण गरेको थियो। “भूउपयोग क्षेत्रको वर्गीकरण नयाँ अभ्यास हो, यसका दीर्घकालीन धेरै फाइदा छन्”, नापी कार्यालयका प्रमुख पालले भने, “भूउपयोग क्षेत्रको वर्गीकरणले स्थानीय तहलाई नीति तथा योजना बनाउन सहज हुनेछ।”
एउटा क्षेत्रमा वर्गीकृत भूमि अर्को प्रयोजनमा उपयोग गर्न नमिल्ने उनले बताए। उनका अनुसार कसैले भूउपयोग क्षेत्र परिवर्तन गर्नुपरे सम्बन्धित व्यक्तिले परिवर्तन गर्नुपर्ने कित्ताको विवरणसहित नगरपालिकामा निवेदन दिनुपर्ने छ।
“स्थानीय भूउपयोग परिषद्को बैठकमा भूउपयोग क्षेत्र परिवर्तनका लागि ती कित्ताको विवरण पेस गर्छ र प्रदेश भूउपयोग परिषद्मा पठाउँछ”, नापी प्रमुख पालले भने, “सङ्घीय भूउपयोग परिषद्ले औचित्य पुष्टि भएपछि कित्ता परिवर्तन गर्न स्वीकृत दिन्छ ।” यसअघि भीमदत्त नगरपालिकाले भूमिको वर्गीकरण गरी कित्ताकाट खुला गरेको थियो। कञ्चनपुरमा शुक्लाफाँटा नगरपालिका भूमि वर्गीकरण भीमदत्तपछि दोस्रो नगरपालिका बनेको छ। अन्य स्थानीय तहमा जग्गा वर्गीकरण अघि बढेको छ। |
‘बुस्टर डोज’ खोप लगाउनेको सङ्ख्या न्यून दोधारा चाँदनी। कञ्चनपुरमा कोभिडविरुद्धको बुस्टर डोज खोप लगाउनेको सङ्ख्या न्यून छ।
जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले बिहीबारदेखि ‘बुस्टर डोज’ खोप अभियान सुरुआत गरेको थियो। खोप लगाउनेको सङ्ख्या न्यून रहेको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका कोल्ड चेन अधिकृत जनक कुँवरले जानकारी दिए।
भारतबाट नेपाल फर्किनेमा कोरोना सङ्क्रमण देखिन थालेपछि कोभिडविरुद्धको तेस्रो मात्रा र चौथो मात्राको खोप अभियान सुरु भएको थियो तर खोप अभियानका सहभागिको सङ्ख्या न्यून रहेको उनले बताए।
“खोप लगाउनेको सङ्ख्या धेरै कम छ पहिलो डोज पछि धेरै मानिस खोप लगाउन आएनन”, उनले भने, “अहिलेको खोप अभियानमा पनि खोप लगाउन आउनेको धेरै कम खोप लगाउन सबैलाई आग्रह गर्छौं।”
अहिले ५५ वर्षमाथिका ज्येष्ठ नागरिक, स्वास्थ्यकर्मी, गर्भवती र रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई बुस्टर डोजका रूपमा खोप दिन थालिएको छ। कञ्चनपुरको बेदकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हरिशा पालले बुस्टरडोज लगाउन आउने सङ्ख्या न्यून रहेको बताए।
“हाम्रो नगरपालिकामा पाँच हजार चार सय डोज खोप आएको छ।” उनले भने, “शनिवारसम्म करिब एक हजार पाँचसयले मात्रै खोप लगाएका छन यो न्यून हो”, उनले सोमबार खोप अभियानको अन्तिम दिन भएकाले सङ्ख्या बढ्न सक्ने बताए। “हामीले गाउँगाउँमा माइकिङसमेत गरेका हौँ”, उहाँले भन्नुभयो, “यसपटक बुस्टर डोज लगाउन न्यून मानिस आए।”
भीमदत्त नगरपािलकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र राज जोशीले पनि पालिकामा १० हजार डोज खोप आएपनि खोप लगाउने मानिसको सङ्ख्या धेरै कम रहेको बताए।
“पहिलो पटक खोप लगाउँदा भ्याइनभ्याइ थियो अहिले आएको खोप समेत फिर्ता गर्नुपर्ने अवस्था आएको छ”, उनले भने, “सबै वडाका स्वास्थ्य संस्थामा खोप उपलब्ध छ लगाउन आउनेको सङ्ख्या न्यून छ ।”
कार्यालयका अनुसार कञ्चनपुरमा बुस्टर डोजका लागि ५० हजार डोज खोप आएको छ। कार्यालयको तथ्याङ्कअनुसार हालसम्म कञ्चनपुरमा ४८ दशमलव ३० प्रतिशतले मात्रै कोभिडविरुद्धको खोप लगाएका छन्। जिल्लामा चार लाख चार हजार पाँच सय ४५ जनाले कोरोनाविरुद्धको खोपको पहिलो मात्रा लगाएका छन्।
त्यसैगरी तीन लाख ६४ हजार सात सय ८५ जनाले दोस्रो मात्रा लगाएका छन् भने दुई लाख १६ हजार छ सय ६७ जनाले खोपको तेस्रो मात्रा लगाएका छन्। पहिलो मात्रापछि खोप लगाउनेको सङ्ख्या घट्दै गएको स्वास्थ्य कार्यालयले जनाएको छ। |
कोभिडकालमा बन्द भएका अरु नाका खुले, अझै खुलेन टिपताला ताप्लेजुङ। चीनकोे तिब्बतसँग जोडिएको ताप्लेजुङको उत्तरी टिपताला नाका नखुल्दा सीमावर्ती क्षेत्रका बासिन्दा समस्यामा छन्। कोभिड १९ को सङ्क्रमण सुरु भएसँगै बन्द भएको नाका नखुल्दा सीमावर्ती क्षेत्रमा बसोबास गर्नेहरूको व्यवसाय सङ्कटमा परेको छ भने दैनिकीसमेत असहज बनेको छ।
तिब्बतबाटै खाद्यान्नलगायतका सामान ल्याएर उपभोग गर्ने सर्वसाधारण तथा सीमापार व्यापारमा निर्भर रहेका याङ्मा, फले, घुन्सा, ओलाङ्चुङगोलालगायतका उद्योगी, व्यवसायी मर्कामा परेको ओलाङ्चुङगोलाका टाँसी शेर्पाले बताए।
“टिपताला हुँदै तिब्बतमा लगेर बेचिने गलैँचासहितका स्थानीय उत्पादन लामो समयदेखि घरैमा थन्किएका छन्, खाद्यान्नलगायतका उपभोग्य वस्तु सदरमुकामलगायतका ठाउँबाट महँगो भाडा तिरेर ल्याउनुपरेको छ, नाका खुल्ने अत्तोपत्तो छैन”, शेर्पाले भने।
सडक सञ्जालसँग नजोडिएको ओलाङ्चुङगोलामा सदरमुकाम फुङलिङमा प्रतिकिलो ३० रुपैयाँ पर्ने नुन ८० रुपैयाँ पर्छ। तिब्बततर्फबाट निर्माण भएको सडक ओलाङ्चुङगोला बस्तीमा आइपुगे पनि सदरमुकामसँग अभैm नजोडिएकाले यातायात र ढुवानीमा समस्या छ।
सदरमुकाम तर्फबाट लगिएका सामान आधा बाटोबाट भरिया वा खच्चडमार्फत ढुवानी गर्नुपर्छ। लेलेपसम्म गाडीमा र त्यसपछि भरिया वा खच्चड र चौँरीलाई बोकाएर सामान लैजानुपर्छ।
लेलेपदेखि ओलाङ्चुङगोला पुर्याएको ढुवानी भाडा प्रतिकिलो ५० रुपैयाँ पर्ने स्थानीयवासीले बताएका छन्। सामानको खरिद र ढुवानी खर्च दुवै तुलनात्मकरूपमा तिब्बततर्फ धेरै नै सस्तो पर्छ।
वर्षौंदेखि सीमावर्ती क्षेत्रका बासिन्दाले आफ्ना उत्पादन तिब्बतमा पुर्याउने र तिब्बतबाट आवश्यक सामान खरिद गरेर ल्याउने गरेका छन्। घुन्सा, याङ्मा, ओलाङ्चुङगोलामा उत्पादन हुने ८० प्रतिशतभन्दा बढी गलैँचा चीनको तिब्बतमा निर्यात हुँदै आएको थियो।
गलैँचा मात्रै नभई स्थानीयरूपमा पाइने जडीबुटी, घ्यू, छुर्पीलगायतका उत्पादन तिब्बतका बजारमा बेचेर उतैबाट खाद्यान्नलगायतका सामान स्थानीयवासीले लिएर घर फर्किने गरेका थिए।
सीमा नाका बन्द भएसँगै आवतजावत पूर्णरूपमा ठप्प हुँदा यहाँको उत्पादनले बजार र मूल्य नपाएको र दैनिक उपभोग्य वस्तुसमेत महँगोमा खरिद गर्नुपरेको स्थानीयवासीले गुनासो गरेका छन्।
परम्परागत तानमा हातले मेहनतका साथ बनेका गलैँचा महँगो पर्ने गरेकाले नेपालतर्फका बजारमा भन्दा तिब्बतका बजारमा धेरै निर्यात भएका हुन्। तिब्बतका बजारमा भने जस्तो मूल्य पाउँदै आएको व्यवसायीले बताए।
नजिकको बजार तिब्बत नै रहेकाले सीमा क्षेत्रका बासिन्दालाई आयात निर्यातमा सहज पनि छ। “नेपाली बजारमा लैजाँदा लागत मूल्य पाउन पनि मुस्किल हुन्छ, दूरदराजबाट बजार पुर्याउन त्यति सहज पनि छैन, लामो समयदेखि बनेका गलैँचा घरैमा थन्किएका छन्”, गलैँचा व्यवसायी यमुना सिवाँले भने।
नाका बन्द हुँदा इलाम, पाँचथर र ताप्लेजुङका विभिन्न क्षेत्रका किसानले उत्पादन गरेको र व्यवसायीले सङ्कलन गरेको चिराइतो झापाको बिर्तामोड हुँदै भारततर्फ निकासी भइरहेको छ। नाका बन्द नहुँदासम्म तिब्बतमा समेत निर्यात हुँदै आएको थियो।
एकातर्फ मात्र निर्यात हुँदा भने जस्तो बजार र मूल्य नपाउने जस्ता समस्या भोग्नुपरेको व्यवासायीले बताए।
“चिराइतो अहिले भारततर्फ नै निकासी भइरहेको छ, पहिलेको तुलनामा मूल्य पनि बढेको छ, तर समय समयमा माग र मूल्य तलमाथि भइरहने समस्या छ, तिब्बततर्फ पनि निर्यात हुने हो भने सायद यो समस्या नहोला”, व्यवसायी नरेन्द्र तिवारीले भने।
यसरी लामो समयदेखि नाका बन्द हुँदा स्थानीयवासीले बेहोर्नुपरेको समस्या स्मरण गर्दै सरोकारवालाले नाका खोल्न पहल गर्ने बताउँदै आएका छन्। नेकपा (एमाले)का नेता तथा ताप्लेजुङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले विभिन्न समयमा उक्त नाका खोल्न पहल भइरहेको बताउँदै आएका छन्।
यता केही दिनअघि गृह जिल्ला आएका डाक्टर सन्दुक रुइतले समेत उक्त नाका खोल्नुपर्नेमा जोड दिएका थिए। कुनै समय चीनतर्पmका अन्य नाकामध्ये टिपताला धेरै अग्रसर रहेको स्मरण गर्दै उनले यो नाकासँग जोड्ने सडक मार्गको निर्माण चाँडो सम्पन्न गरेर मुलुकले फाइदा लिनुपर्ने बताएका थिए।
बेला बेलामा नाका खुलाउन केही स्थानीयवासी विभिन्न सरोकारवाला व्यक्ति र निकायसम्म पुग्ने गरेका छन् तर सरकारले क्रमशः अन्यत्रका नाका खोल्ने निर्णय गरे पनि टिपताला नाकाबारे कुनै अत्तोपत्तो नभएकोमा स्थानीयको गुनासो छ।
नेपाल–चीन सीमा व्यापार सङ्घको निर्णयअनुसार चीनले आगामी वैशाख १८ गतेदेखि तातोपानी र हिल्सा नाका खोल्ने जनाएको छ तर तीन वर्षदेखि बन्द भएको टिपतालाका सम्बन्धमा भने कुनै चर्चा भएको छैन।
सदरमुकाम फुङलिङबाट सवारी साधन र पैदल गरेर ओलाङचुङगोला पुग्न झण्डै दुई दिनको समय लाग्छ। फुङलिङबाट साबिकको लेलेप गाविससम्म सवारी साधनमा र त्यसभन्दा माथि पैदल हिँड्नुपर्छ।
ओलाङचुङगोला यसअघि नै तिब्बतसँग सडक सञ्जालले जोडिए पनि सदरमुकामसँग भने जोडिएको छैन। यता याङ्मा, घुन्सा, थुदाममा पुग्नसमेत दुईदेखि तीन दिनको समय लाग्छ। ओलाङचुङगोलामा ५३ परिवारको बसोबास छ भने याङ्मामा १३ परिवार बस्छन्।
– सन्तोष पुर्कुटी\रासस |
मलेरियाको उच्च जोखिम क्षेत्रमा विषादी छर्किंदै दोधारा चाँदनी। जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले मलेरियाको उच्च जोखिम क्षेत्रमा विषादी छर्किने अभियान सुरु गरेको छ।
सोमबारदेखि जिल्लाका उच्च जोखिम भएका क्षेत्रमा विषादी छर्किन लागेको स्वास्थ्य कार्यालयका औलो निरीक्षक सिद्धराज भट्टले जानकारी दिए। जिल्लामा मलेरीयाको उच्च जोखिम रहेको क्षेत्र भीमदत्त नगरपालिका–१ र कृष्णपुर नगरपालिका–५ मा विषादी छर्किन लागिएको हो।
“मध्यम जोखिम भएका क्षेत्रका झुल वितरण गरेका छौँ”, भट्टले भने, “सरकारको योजनाअनुसार सन् २०२५ सम्ममा जिल्लालाई मलेरिया शून्यमा झार्ने लक्ष्यले काम भइरहेको छ।” त्यसैगरी भीमदत्तका वडा नं ९, १० र बेदकोट नगरपालिकाका वडा नं १, २ र ६ का सबै नागरिकलाई झुल वितरण गरिएको छ।
कञ्चनपुरमा चालु आर्थिक वर्षमा २१ मलेरियाका बिरामी फेला परेका छन्। तीमध्ये १६ बाहिरबाट आएका व्यक्तिमा सङ्क्रमण देखिएको भट्टले बताए। त्यसमध्ये छ जनामा कडा खाले मलेरिया देखिएको छ भने अन्य १४ मा कम कडा भएको मलेरिया देखिएको निरीक्षक भट्टले बताए।
“जिल्लामा भारत तथा अन्य ठाउँबाट आउनेमा बढीजसो मलेरिया देखिने गरेको छ”, उनले भने, “पछिल्ला वर्षको तथ्याङ्क हेर्दा जिल्लामा बिरामीको सङ्ख्या घट्दै गएको छ।” कञ्चनपुरमा हाल प्लाज्मोडियम विबक्स र प्लाज्मोडियम फाल्सिपेरम जातका बिरामी देखा परेका जनाइएको छ। |
काेशी नामाकरण विरुद्व भईरहेकाे पहिचानवादीकाे आन्दाेलनलाई जसपाकाे समर्थन काठमाडौँ। पहिचानवादीको आन्दोलन चर्किदै गएपछि उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालले कोशी प्रदेशको नामाकरण परिवर्तन हुनु पर्ने जनाएकाे छ।
अध्यक्ष यादवले जारी गरेको आन्तरिक सर्कुलर अनुसार तत्कालका लागि उक्त प्रदेशको नाम प्रदेश नं १ नै कायम हुनुपर्ने र प्रदेशसभाले पहिचान अनुसारको नाम परिवर्तन गरेमा मात्र उक्त परिवर्तित नयाँ नामाकरणलाई समर्थन गरिनेछ।
प्रदेश नं १ मा उठाएको पहिचानको आधारमा प्रदेशको नामकरण हुनुपर्दछ भन्ने आन्दाेलनकाे मागलाई यथोचित रुपमा सम्बोधन गर्न गराउन सरकारसँग जोडदार माग गरिएको पनि साे परिपत्रमा उल्लेख छ।
गत चैत १ गते प्रदेश १ को नाम कोशी प्रदेश शब्द पर्न गएको भन्दै पार्टीले उक्त नाम सच्च्याउन भएको आन्दोलनको समर्थनसमेत गरेको जनाईएको छ। काेशी नामाकरण गरेपछि पछिल्ला दिनमा विराटनगरलगायतमा दिनहुँ आन्दाेलन भईरहेका छन् । |
रसुवा अस्पतालले स्थानीय तहमै प्रसूति सेवा दिने रसुवा। रसुवा अस्पताल धुञ्चेले स्थानीय स्तरमै प्रसूति सेवा दिने भएको छ। यसका लागि अस्पतालले डाक्टरको व्यवस्था गरेको र अब छिट्टै यो सेवा सुरु हुने बताइएको छ। यो सेवा सुरु भएपछि सुत्केरी हुनकै लागि काठमाडौँ जानुपर्ने बाध्यता हट्ने विश्वास गरिएको छ।
रसुवा जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अमितकुमार शाहले स्थानीय स्तरमै नियमित गर्भ परीक्षण र शल्यक्रिया सेवा दिन तयारीका सुरु गरिएको बताए। सुरक्षित प्रसूति सेवाका लागि दक्ष चिकित्सकको व्यवस्था भइसकेको र आवश्यक उपकरण धुञ्चे पुगेको उनको भनाइ छ।
शल्यक्रियाका लागि पूर्वाधार जडान भइरहेको अस्पतालको भनाइ छ। प्रसूति सेवाका लागि निक्स साइमन इन्स्टिच्युटले चिकित्सक उपलब्ध गराएको छ। साथै बिरामीको समस्या पत्ता लगाई उपचार सेवा प्रभावकारी बनाउन अल्ट्रासाउन्ड (भिडियो एक्स्रे) एवं डिजिटल एक्स्रे समेत सञ्चालनमा ल्याएको छ अस्पतालका सूचना अधिकारी कृपा विसुङ्खेले जानकारी दिए।
पन्ध्र शय्या क्षमताको जिल्ला अस्पतालमा बढ्दो बिरामीको चाप धान्न अस्पताल प्रशासनले सम्बन्धित मन्त्रालय तथा विभागसँग थप स्वास्थ्यकर्मीको माग गर्दै आएको छ। अस्पतालमा गत साउनदेखि फागुनसम्म तीन हजार पाँच सयले बहिरङ सेवा लिएका छन्। |
सुन्दरबजार नगरपालिकाले विपन्न नागरिकको स्वास्थ्य बिमा गरिदिने लमजुङ। लमजुङको सुन्दरबजार नगरपालिकाले नगरभित्र रहेका विपन्न घरपरिवारको स्वास्थ्य बीमा गरिदिने भएको छ । आयआर्जनका स्रोत नभएका उपचारमा कठीनाइ परिरहेका नागरिकलाई उपचारमा सघाउने र प्रभावकारी रुपमा स्वास्थ्य सेवाको पहुँच पुर्याउने उद्देश्यले नगरक्षेत्रका विपन्न परिवारका व्यक्तिलाई नगरपालिकाले स्वास्थ्य बीमा गरिदिने निर्णय गरिएको नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद कोइरालाले जानकारी दिएका छन् ।
नगर प्रमुख कोइरालाका अनुसार उपचारमा कठीनाइ परेर आर्थिक सहायताका लागि नगरपालिकामा धाउनेको संख्या बढ्दो बढेको अवस्थामा उनीहरुलाई उपचारका लागि पाँच÷दश हजार रुपैयाँ दिनुको सट्टा बीमा रकम नगरपालिका आफैँले व्यहोरेर उनीहरुलाई स्वास्थ्य सेवा लिन सहज बनाउने हेतुका साथ नगर कार्यपालिका बैठकमा छलफल र बहसपछि यस्तो निर्णय गरेको हो ।
नगर क्षेत्रका नागरिकको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत परिवारमा रहेका पाँचजनाको स्वास्थ्य बीमा वापतको रकम ३ हजार ५०० नगरपालिका आफैँले तिरिदिनेछ । स्वास्थ्य बीमा पश्चात प्रति घरधुरीका पाँच जनासम्म सदस्यले वर्षमा १ लाखसम्मको स्वास्थ्य सेवा लिन सक्नेछन् ।
यसका लागि नगरपालिकाले चालु आर्थिक वर्षका लागि तीन लाख रुपैयाँ विनियोजन गरेको छ । नगरपालिकाले स्वास्थ्य बीमा गरिदिने भएपछि यसै आर्थिक बर्षमा स्वास्थ्य बीमाको लागि निवेदन दिनेको संख्या बढेको छ । यसलाई मध्यनजर गरेर सो रकममा अझै थप गरिने नगर प्रमुख कोइरालाको भनाइ छ । आगामी आर्थिक बर्षमा स्वास्थ्य बीमाको लागि थप रकमको व्यवस्था गरिनेछ ।
यसका लागि अहिले आवेदन संकलन भइरहेको छ । प्राप्त आवेदनलाई छानबिन गरी अति विपन्न व्यक्तिहरुको पहिचान गरी उनीहरुको स्वास्थ्य बीमा वापतको रकम नगरपालिका आफेँले बेहोर्ने नगरप्रमुख कोइरालाले बताउनुभयो । आफूले नगर प्रमुख भए लगत्तै स्वास्थ्यको क्षेत्रमा सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेका नगर प्रमुख कोइरालाले यस किसिमको कार्यक्रमले नगरपालिका भित्रका विपन्न परिवारलाई राहत पुग्ने विश्वास व्यक्त गरेका छन् ।
सुन्दरबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलका अनुसार नगरपालिकामा अति गरिब घरधुरी संख्या २२९, मध्यम गरिब २६३ र सामान्य गरिब घरधुरी संख्या १ सय ७२ रहेका छन् । तिनीहरु मध्ये गरिव परिवारलाई मध्यनजर गरेर यस्तो कार्यक्रम ल्याइएको प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताए । आवश्यकताअनुसार यस रकम बढाउन सकिने र कार्यक्रम प्रभावकारी भएमा आगामी वर्षहरुमा यस कार्यक्रमको बजेटलाई झै बढाइने उनले बताए ।
|
लुम्बिनीमा हाफ म्याराथन प्रतियोगिता हुँदै लुम्बिनी। अन्तर्राष्ट्रिय खेलकुद दिवसको अवसरमा ‘शान्ति र समृद्धिका लागि खेलकुद’ भन्ने मूल नारासहित यही चैत २३ गते बुद्ध जन्मस्थल लुम्बिनीमा पुरुष तथा महिला खुला हाफ म्याराथन प्रतियोगिता आयोजना गरिने भएको छ।
मदन भण्डारी स्पोर्टस् एकेडेमीद्वारा आयोजित सो प्रतियोगिताको पुरस्कार रु एक लाख ५० हजार राशि रहेको छ। शान्ति भूमि लुम्बिनीमा २१ किलोमिटर हाफ म्याराथनको तयारी अन्तिम चरणमा पुगेको एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिए।
लुम्बिनीको मायादेवी मन्दिर, शान्ति दीपलगायतका क्षेत्रलाई मध्यभागमा पारी २१ किमी परिक्रमा गरिने जनाइएको छ। प्रतियोगिताका विजेताले पुरुषतर्फ रु एक लाख ५० हजार र महिलातर्फ रु एक लाख ५१ हजार पुरस्कार राशि राखिएको उनले बताए।
यसैगरी पुरुष तथा महिला दुवैतर्फका द्वितीयलाई रु ७५ हजार, तृतीय स्थानलाई रु ५० हजार, चौथो स्थानका लागि रु ३० हजार र पाँचौँ स्थानका लागि रु २० हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ।
प्रतियोगितामा देशका जुनसुकै स्थानका कुनै पनि उमेर समूहका खेलाडीले खुलारूपमा प्रतिस्पर्धा गर्न पाउने कार्यक्रमका संयोजक मोहनबहादुर घलेले जानकारी दिए। म्याराथन प्रतियोगिताका लागि यही चैत २० गतेसम्म दर्ताको अन्तिम मिति रहेको छ भने चैत २२ गते स्वास्थ्य परीक्षण हुनेछ।
एकेडेमीले सोही दिन राष्ट्रिय भेलाको समेत आयोजना गर्ने भएको छ। भेलामा ७७ वटै जिल्लाका सबै स्थानीय तहबाट प्रतिनिधि सहभागी हुने जनाइएको छ। भेलामा विभिन्न खेल विधाका प्रदर्शन र विभिन्न कला, संस्कृति झल्कने नृत्य प्रस्तुत गरिने आयोजकले जानकारी दिएको छ। |
वन्यजन्तु अवलोकनको नयाँ गन्तव्य बन्दै पिप्रहर कावासोती। चितवन राष्ट्रिय निकुञ्जले निकुञ्जको पश्चिम सेक्टरबाट समेत निकुञ्जभित्र जङ्गल सफारीको अनुमति दिएपछि नवलपुरको अमलटारी र पिप्रहरबाट निकुञ्जभित्र जङ्गल सफारी सुरु भएको छ। यो सँगै चितवन राष्ट्रिय निकुञ्जभित्रको ‘कोर एरिया’मा गैँडासहितका वन्यजन्तु अवलोकन गर्नका लागि सौराहा पुग्नुपर्ने बाध्यता हटेको हो।
एक साता अगाडि नवलपुरको शिख्रौलीमा रहेको निकुञ्जको गिद्धेनी पोस्टबाट निकुञ्जभित्र रहेको आइसल्याण्ड जङ्गल रिसोर्टसम्मको करिब ५५ किलोमिटर लामो पर्यटनमार्गको शुभारम्भ भएसँगै देवचुली–१७ मा रहेको पिप्रहर होमस्टेबाट जङ्गल सफारी थालिएकोे छ।
बाह्य तथा आन्तरिक पर्यटकले चितवनको सौराहा पुगेर हात्ती सफारी वा जिप सफारी गरेर निकुञ्जको जङ्गल पसेपछि गैँडासँगै विभिन्न वन्यजन्तुको अवलोकन गर्ने गरेका थिए।
होमस्टे होटल तथा पर्यटन व्यवसायी समितिको पहलमा दुई गाडीको प्रयोग गरेर यही चैत १७ गतेदेखि यस क्षेत्रभित्र औपचारिकरूपमा जङ्गल सफारीको सुरुआत गरिएको छ। निकुञ्जको पश्चिम सेक्टरको जङ्गलको मध्यभागमा सुरु भएको जङ्गल सफारी वन्यजन्तु पारखीका लागि महत्वपूर्ण सावित हुने जङ्गल पर्यटनमार्ग निर्माण समितिका अध्यक्ष एवं पर्यटन व्यवसायी सन्तोष धिताल बताउँछन्।
जङ्गल सफारीका क्रममा तीन घण्टाको समयमा १४ वटासम्म एकसिङ्गे गैँडा फेला परेका देवचुली–१७ का वडाध्यक्ष गणेश शर्मा चालिसेले बताए। पिप्रहर होमस्टे नजिकै रहेको निकुञ्जको कुजौली पोस्टबाट प्रवेश गरिने यो रुट भएर जङ्गल सफारी गर्दा धेरैको सङ्ख्यामा एकसिङ्गे गैँडामात्रै होइन दुर्लभ प्रजातिको पाटेबाघ, भालु तथा धेरै सङ्ख्यामा चराचुरुङ्गीको अवलोकन गर्न पाइने भएकाले जङ्गल सफारी गर्नेका लागि यो मार्ग निकै महत्वपूर्ण हुने होमस्टे होटल तथा पर्यटन व्यवसायी समितिका अध्यक्ष प्लटप्रसाद चौधरी बताउँछन्। वन्यजन्तु अवलोकनका लागि अब नवलपुर र त्यसमा पनि नवलपुरको पिप्रहर नयाँ र महत्वपूर्ण गन्तव्य बन्ने तथा यसले सिङ्गो नवलपुरको पर्यटन तथा आर्थिक गतिविधिलाई माथि उठाउने उनको भनाइ छ।
पहिलो दिनकै सफारीमा १४ सम्म गैँडा देखिएपछि उत्साहित भएका यस क्षेत्रका पर्यटन व्यवसायी सफारीमा प्रयोग गरिने जिपको सङ्ख्या बढाउने तयारीमा जुटेका छन्। अहिले भएको दुईवटा जिप यस क्षेत्रका होमस्टे सञ्चालक र पर्यापर्यटनसँग जोडिएका होटलहरूले सामूहिकरूपमा खरिद गरेर सञ्चालन गरेका छन्। जिप खरिदमात्रै होइन सफारीबाट आएको आम्दानीसमेत समितिमार्फत लगानीका आधारमा व्यवसायीलाई बाँडिने गरेर सामूहिक अवधारणामा जङ्गल सफारीको सुरुआत गरिएको पर्यटन व्यवसायी सन्तोष धितालले जानकारी दिए।
पूर्व–पश्चिम राजमार्गको नारायणघाटबाट करिब ३० किलोमिटर पश्चिम यात्रा गरेपछि रजहर बजारबाट दक्षिणतर्फ करिब एक दशमलव पाँच किलोमिटर यात्रा पिप्रहर पुगिन्छ। यहाँ घुम्न आउने पर्यटकका लागि बास बस्नका लागि सामुदायिकरूपमा स्थापना गरिएको २२ होमस्टे सञ्चालनमा छन् भने साना र ठूला गरेर यस क्षेत्रमा डेढ दर्जन बढी राम्रा होटल सञ्चालनमा आएका छन्।
गैँडालगायतका वन्यजन्तु अवलोकनका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकलाई होमस्टेसँगै रहेको निकुञ्जको कुजौली पोस्टबाट प्रवेश दिने गरिएको छ। नेपालकै दोस्रो लामो जङ्गल सफारीको मार्ग दाबी गरिएको यस क्षेत्रबाट करिब ५५ किलोमिटर लामो जङ्गलको यात्रा गर्दा धेरै सङ्ख्यामा गैँडासहितका वन्यजन्तु देखिने भएकाले पनि गैँडासहितका वन्यजन्तु अवलोकनका लागि पिप्रहर नयाँ गन्तव्यको रुपमा विकास भएको छ। – रासस |
उपल्लो डोल्पामा बिरामी उद्धार गर्न जाने हेलिकोप्टरमा कर्मचारीको रजाइ सुर्खेत। उपल्लो डोल्पामा उद्धारका लागि जाने हेलिकोप्टरमा कर्मचारीले जान खोज्दा आफूहरु समस्यामा परेको पीडितले बताएका छन्।
बिरामी उद्धारदेखि अन्य प्रयोजनका लागि उपल्लो डोल्पामा जाने हेलिकोप्टरमा जिल्ला स्थित कर्मचारीले निःशुल्क जान खोज्दा आफूहरु पीडित भएको बताएका हुन्। जिल्ला प्रशासन कार्यालय देखि जिल्ला प्रहरी हुँदै पहुँचवाला कार्यालयका कर्मचारीहरु हेलिकाेप्टरमा हालिमुहाली हुँदै आएपछि पीडित अन्यायमा परेका छन भने राज्य माथि आर्थिक भार थपिन पुगेकाे छ।
पर्यटकलाई उद्धारदेखि सुत्केरी उद्धारसम्मका कामहरुमा हेलिकोप्टर लिदा कर्मचारीहरु घुम्न सोही हेलिकोप्टरमा जाँदा बढी महंगो हुने गरेको पीडितको भनाइ छ। जनताले लगानीमा उडाएको हेलिकोप्टरमा कर्मचारीको रजाइँ हुदा हेलिकोप्टरको उडान समय बढी हुने गरेको छ ।
जती समय बढी खर्च भयो, उत्ती नै खर्च बढी आउने भएपछि आफूहरु मर्कामा परेको उपल्लो डोल्पा स्थित डोल्पोबुद्ध गाउँपालिका –३ का खाम्पा छुल्डीम गुरुङले बताए। उपल्लो डोल्पाको डोल्पोबुद्ध, शे फोक्सुण्डोमा हलिकोप्टर उडाउन शे फोक्सुण्डो राष्ट्रिय निकुन्जले दिने गर्दछ। छार्काताङसोङ, ठुलिभेरी ,त्रिपुरासुन्दरी लगाएतका क्षेत्रमा हेलिकोप्टर उडाउन जिल्ला प्रशासन कार्यालयले दिने गर्दछ।
निकुन्ज एरिया भित्र हेलिकोप्टर उडाउदा निकुन्ज भित्रको सेनालाई लिएर उडान भर्नुपर्ने भए पनि त्यसमा समेत अन्य कर्मचारी कै हालिमुहाली हुने गरेको छ। बिपद तथा समस्यामा परेका सर्वसाधारणले लिने हेलिकोप्टरमा कर्मचारीले घुम्न खोज्दा खर्चसमेत बढी आउदा स्थानीयबासीहरु आर्थिक मारमा परेका छन्।
डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले आफूसम्म केही गुनासो आएको बताए। अब आउने हेलिकोप्टरमा आफूले समन्वय गरेर कसैलाई पनि मर्का नपर्ने गरी काम गर्ने बताए।
यत्ता निकुन्जका प्रमुख लालबहादुर भण्डारीले निकुन्जले कुनै असहयोग नगरेको बताए । निकुन्ज क्षेत्र भित्र हेलिकोप्टर लिदा सुरक्षाकर्मी लिनुपर्ने भएपनि अहिलेसम्म त्यो काम भने हुन नसकेको उनकाे भनाइ छ। |
हेटौँडाबाट-कुलेखानी-काठमाडौँ सडक मर्मतका लागि बन्द बागमती। हेटौँडाबाट कुलेखानी हुँदै काठमाडौँ प्रवेश गर्ने छोटो दूरीका दुई सडक स्तरोन्नतिका लागि गरिएका छन्। चित्लाङ–चन्द्रागिरि–थानकोट सडक र कुलेखानी–सिस्नेरी–छैमले–दक्षिणकाली सडक स्तरोन्नतिका क्रमका बन्द गरिएका हुन्।
थाहा नगरपालिका प्रमुख विष्णु विष्टका अनुसार सडक स्तरोन्नति एवं मर्मतकार्य जारी रहेकाले अर्को सूचना नभएसम्मका लागि सडक बन्द गरिएको छ। वडा कार्यालयका अनुसार प्रत्येक दिन बेलुका ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मका लागि सडक बन्द रहने भएको छ।
त्यस्तै कुलेखानी–सिस्नेरी–छैमले–दक्षिणकाली सडकखण्डअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–३ को ज्यामिरेबाट रामचन्द्र भन्ज्याङ सडक स्तरोन्नतिसहित कालोपत्र गर्ने काम भइरहेकाले सो खण्डमा सडक बन्द गरिएको छ। इन्द्रसरोवर गाउँपालिका–३ को कार्यालयले सडक स्तरोन्नतिको काम गरिरहेको छ।
हरेक दिन बिहान ७ देखि साँझ ५ बजेसम्म एम्बुलेन्स, स्थानीयका सवारीसाधन र स्थानीय रुटमा चल्नेबाहेकका सवारीसाधन बाहेहका अन्य सवारीका साधन सञ्चालन नगर्न आग्रह गरेको छ। |
कोशी प्रदेशका पाँच वर्षमुनिका २० प्रतिशत बालबालिका पुड्कोपन बनियानी । कोशी प्रदेशमा पाँच वर्षमुनिका २० प्रतिशत बालबालिका पुड्कोपन रहेको पाइएको छ । झापाको बिर्तामोडमा आयोजित ‘नगरस्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको बैठक तथा अभिमुखीकरण कार्यक्रम’मा आधारभूत पोषण तथा बहुक्षेत्रीय पोषण योजनाका कोशी प्रदेश संयोजक सञ्जीव लामा घिसिङले प्रदेशको पोषणको तथ्याङ्क प्रस्तुत गर्दै पाँच वर्षमुनिका २० प्रतिशत बालबालिका पुड्कोपन रहेको जानकारी दिए ।
त्यस्तै १३ प्रतिशत बालबालिकामा कम तौलको समस्या र चार प्रतिशत ख्याउटेपनबाट ग्रसित भएको उनले बताए । “नेपालमा पाँच वर्षमुनिका बालबालिकामा कुपोषण धेरै छ”, उनले भने, “जसका कारण बालबालिकाको चौतर्फी विकास हुनसकेको छैन ।” उनले नेपालमा २५ प्रतिशत पुड्कोपन, आठ प्रतिशत ख्याउटेपन र १९ प्रतिशत बालबालिका कम तौलका रहेको बताए ।
बालबालिका धेरै कुपोषित भएको र यसलाई निराकरण गर्न पोषणको एकीकृत कार्यक्रम कार्यान्वयन गर्नुपर्ने उनले जोड दिए । कृषि, पशुपक्षी, शिक्षा, खानेपानी, महिला तथा बालबालिकासँग सम्बन्धित क्रियाकलापसँगसँगै पोषणको एकीकृत कार्यक्रम कार्यान्वयन गर्ने उद्देश्यका साथ योजना आएको बताउँदै उनले यस कार्यक्रमले बालबालिकासँगै किशोरी तथा महिलाको पोषणको अवस्थामा समेत सुधार ल्याउने बताए ।
कार्यक्रममा बिर्तामोड नगरपालिकाका नगरप्रमुख पवित्रा महतारा प्रसाईँले पोषणको कुरा सामान्य लागे पनि महत्वपूर्ण विषय रहेको बताइन् । “कुपोषित बालबालिकाकाको समुचित शारीरिक तथा मानसिक विकास हुन सक्दैन”, उनले भनिन्, “राम्रो समाज निर्माणका लागि राम्रो जनशक्ति आवश्यक हुन्छ, बच्चालाई आमाको गर्भमा हुँदादेखि नै कुपोषित हुनबाट बचाउनु पर्छ ।”
नगर स्वास्थ्य शाखाले आयोजना गरेको कार्यक्रममा पोषण तथा बहुक्षेत्रीय पोषण योजनाका प्रदेश संयोजक घिसिङ र नगरपालिकाका वरिष्ठ योजना अधिकृत जय तिम्सिनाले सहजीकरण गरेका थिए । कार्यक्रममा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता रहेको थियो । |
लुम्बिनीमा विश्व बौद्ध सम्मेलनको तयारी लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनीमा विश्व बौद्ध सम्मेलन आयोजनाको तयारी सुरु भएको छ । आगामी अक्टोबरमा लुम्बिनीमा विश्व बौद्ध शिखर सम्मेलन आयोजना गर्ने तयारी सुरु भएको लुम्बिनी विकास कोषका सदस्य सचिव शानुराजा शाक्यले जानकारी दिए ।
विगत केही वर्षदेखि रोकिएको अन्तर्राष्ट्रिय शान्ति पुरस्कार बौद्ध शिखर सम्मेलनकै अवसरमा वितरणका लागि प्रक्रियाअघि बढाउने निर्णय गरेको उनको भनाइ छ । बुद्ध जन्मस्थल लुम्बिनीमा बुद्ध जयन्तीको अवसर पारेर ‘लुम्बिनी जाऊँ’ टिकटक प्रतियोगिता पनि आयोजना गरिने भएको छ । लुम्बिनीको थप प्रचारप्रसार र पर्यटकीय प्रवद्र्धनका लागि टिकटक प्रतियोगिता आयोजना गर्न लागिएको कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराईले बताए ।
प्रतियोगितामा विजयीलाई पुरस्कारको निर्णय भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गर्नेछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको अध्यक्षतामा शुक्रबार बसेको बैठकले आगामी बुद्ध जयन्तीको अवसरमा बुद्ध संस्कृति अवलम्बन गर्ने सबैलाई निःशुल्क भिसा प्रदान गर्न नेपाल सरकारसँग पहल गर्ने निर्णय गरेको छ ।
बुद्ध जयन्ती मनाउन आउनका लागि बुद्ध संस्कृति भएका राष्ट्रलाई निःशुल्क भिसाका लागि पहलका लागि निर्णय गरिएको तर कुन–कुन मुलुक भनेर किटान नगरिएको उनको भनाइ छ ।
लुम्बिनीमा हालै निर्मित अन्तर्राष्ट्रिय सभाहलमा केही दिन अघि परेको वर्षापछि पानी चुहिएकाले सम्बन्धित निर्माण कम्पनीलाई मर्मत गराउने निर्णय पनि भएको छ । अन्तर्राष्ट्रिय सभाहल गत वर्ष बुद्ध पूर्णिमाका दिन तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका हुन् ।
निर्माण कम्पनीले मर्मत गरेर समस्या समाधान नगर्दासम्म भुक्तानी प्रक्रिया रोक्का राख्ने निर्णय भएको कोषाध्यक्ष भट्टराइले जानकारी दिए । यस्तै कोषको बैठकले उपाध्यक्ष्य भिक्षु मैत्तेयको नेतृत्वमा लुम्बिनी सरसफाइ अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । |
काभ्रेमा पुनः डेङ्गु र कोरोना सङ्क्रमण काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकमा पुनः डेङ्गु र कोरोना सङ्क्रमण देखिएको छ। तीन महिनापछि सात जना कोरोना र पाँच महिनापछि डेङ्गु सङ्क्रमण पुष्टि भएको हो।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार यसै साता पाँचखाल–३ का ५१ वर्षीया एक महिलामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ। परीक्षणपछि हाल उनी घरमै स्वास्थ्यकर्मीको निगरानीमा छन्।
हाल स्थानीय तहका स्वास्थ्य शाखामार्फत लक्षण तथा बच्ने उपायबारे प्रचार–प्रसारसँगै स्वास्थ्यकर्मीलाई ‘हाइअलर्ट’मा राखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख पुरुषोत्तम सेढाईँले बताए।
जिल्लामा तीन वर्षपछि पाँचखालमा डेङ्गुको सङ्क्रमण देखिएको थियो।
डेङ्गु रोग लाग्ने व्यक्तिलाई अचानक उच्च ज्वरो आउने र पाँचदेखि सात दिनसम्म ज्वरो रहने, सहन नसक्ने गरी टाउको दुख्ने, आँखाको नानी तथा पछिल्लो भाग दुख्नुका साथै ढाड, जोर्नी र मांशपेसी दुख्ने, शरीरमा विबिरा आउने तथा वाकवाकी लाग्ने, पेट दुख्ने, नाक अथावा गिँजाबाट रगत बग्नु, शरीरमा रगत जेमेको दाग देखापर्नु तथा बेहास हुने लक्षण देखिने सेढाईँको भनाइ छ।
जिल्लामा हालसम्म छ सय ८० मा डेङ्गुको सङ्क्रमण देखिएको हो। कार्यालयका अनुसार जिल्लामा शुक्रबार १८ जनाको कोभिड परीक्षण गर्दा सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
सेढार्इँका अनुसार बनेपा नगरपालिका–३, पनौती नपा–२ र नमोबुद्ध नपा–२ मा कोभिड पुष्टि भएको हो। जिल्लामा हालसम्म १८ हजार एक सय ५९ मा कोभिड पुष्टि भएको छ भने एक सय ९६ जनाले ज्यान गुमाइसकेका छन्। |
हुम्ला अस्पतालमा बिरामी बढ्दै, औषधि अभाव हुम्ला। सदरमुकाम सिमकोटस्थित जिल्ला अस्पतालमा औषधि अभाव भएको छ । यहाँ तीन महिनादेखि औषधि अभाव हुँदा जटिल रोगका बिरामीको उपचारमा समस्या भएको छ ।
अस्पतालमा ९८ प्रकारका औषधि हुनुपर्नेमा हाल २५ प्रकारका मात्र रहेका जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख प्रेम सिंहले बताए। “जिल्ला अस्पतालको औषधि स्टोर कक्ष तीन महिनादेखि रित्तै छ । प्रदेश सरकारले खरिद प्रक्रियामा ढिलाइ गर्दा औषधि अभाव भएको हो”, उनले भने । प्रमुख सिंहका अनुसार उपचार गर्न आउने अधिकांश बिरामी औषधि नपाएर रित्तै फर्किने गरेका छन् । सिमकोट र नाम्खा गाउँपालिकास्थित स्वास्थ्य चौकीबाट सापटी मागेर बिरामीको उपचार गर्नु परेको उनको भनाइ छ ।
प्रदेश सरकारलाई औषधि अभावबारे पटक–पटक जानकारी गराएको भए पनि हालसम्म सुनुवाइन नभएको प्रमुख सिंहले बताए। दुई–तीन पटक मन्त्रालयमा गएर यसबारे जानकारी गराउँदा पनि सुनुवाइ नभएको उनको भनाइ छ । पन्ध्र शय्याको जिल्ला अस्पतालमा यसबाट बिरामी मारमा परेका छन्।
सापट मागेर बिरामीको उपचार
केही दिनअघि विष सेवन गरेका सिमकोट गाउँपालिका–१ का वीर भण्डारीलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइयो । औषधि अभावका कारण सामान्य उपचार गरी नेपालगञ्ज पठाइएको अस्पतालले जनाएको छ ।
अस्पतालमा अभाव भएपछि बिरामीले निजी क्लिनिकबाट औषधि किन्नुपर्ने बाध्यता रहेको खार्पुनाथ गाउँपालिका–४ का प्रजित रोकायाले बताए। यस्तै श्रीमतीको उपचार गर्न जिल्ला अस्पताल आउनुभएका सर्केगाड गाउँपालिका–२ का मनसिंह कार्की पनि निजी क्लिनिकबाट महँगोमा औषधि किन्नु परेको बताउँछन्।
रुघाखोकीका बिरामी बढ्दै
जिल्ला अस्पतालमा रुघाखोकी र श्वासप्रश्वासका बिरामीको सङ्ख्या बढ्न थालेको छ । मौसममा एक्कासी आएको परिवर्तनका कारण बिरामी दैनिक बढिरहेका अस्पतालका सिनियर अनमी सरीता बोहराले बताइन् ।
“दैनिक ८० देखि ९० सम्म बिरामी उपचारका लागि आउने गरेका छन् । जटिल प्रकृतिका बिमारीलाई भर्ना गरेर राख्नुपर्ने भए पनि शय्याको अभाव हुन थालेको छ”, उनले भने। सङ्ख्या बढेपछि भुुइँमा राखेर बिरामीको उपचार गर्नुपरिरहेको बोहराले बताइन्।
प्रदेश सरकारबाट उपलब्ध रू १० लाख बराबरको औषधि दुई महिनाभन्दा बढी समयलाई नपुग्ने अस्पतालका स्टोरकिपर मनिकृष्ण जैसीले बताए। बजेट अभावका कारण औषधि खरिद गर्न नसकिएको उनले बताए। |
अधिकांश अभिभावकको रोजाइमा ‘रामतुलसी’, सामुदायिक विद्यालयमा अब्बल बन्दै पाल्पा । हुने खाने परिवारका अभिभावकले भरसक गाउँका सामुदायिक विद्यालयमा आफ्ना बालबालिकालाई पढाउन चाहँदैनन् । सामान्य परिवारका बालबालिकाले मात्रै पढ्ने थलोको रुपमा ग्रामीण भेगका सामुदायिक विद्यालयलाई लिइन्छ ।
रामतुलसी नमुना माध्यमिक विद्यालय भने अहिले अधिकांश अभिभावकको रोजाइमा पर्न थालेको छ ।
गाउँका सामुदायिक विद्यालयमा पढाएर बालबालिकाले के नै ज्ञान सिक्लान् र भन्ने अभिभावकको संशयलाई अहिले रामतुलसीले बदल्दै छ । रामपुर नगरपालिकाको यो विद्यालय पाल्पा जिल्लाकै धेरै विद्यार्थी अध्ययन गर्नेमा पर्दछ । समायनुकूलको शिक्षा विद्यालयले दिन थालेपछि यस विद्यालयमा विद्यार्थी सङ्ख्या बढेको छ ।
संस्कारसहित हरियाली वातावरणमा खेल्दै सिक्दै गर्ने, पर्याप्त प्रविधि सहितको शिक्षाले अभिभावक तथा विद्यार्थीको ध्यान तानिएको छ । आधुनिकताको नाममा अहिलेका बालबालिकाले आफ्ना रहनसहन, संस्कार भुल्दै गएकाले संस्कार सहित समयानुकूल शिक्षा दिने गरिएको छ । विद्यालयमा पूर्वप्राथमिक ए, अङ्ग्रेजी माध्यम बि र नेपाली माध्यम सी ग्रेड गरी पठनपाठन चलाइएको प्रधानाध्यापक बालकृष्ण लम्सालले बता । “आधुनिक प्रविधि, संस्कारसहितको खेल्दै रमाउँदै ज्ञान सीप सिक्ने वातावरण तयार पारेका छौँ”, प्रअ लम्सालले भने।
पर्व, संस्कृतिको जानकारी दिन कृष्णाजन्माष्टमी, दसैँतिहार, फागुपूर्णिमा जस्ता विभिन्न चाडपर्वमा विद्यालयले तल्ला कक्षामा अध्ययन गर्ने बालबालिकालाई पर्व उत्सव कार्यक्रम गर्छ । रामपुरबाट गुणस्तर शिक्षालाई बाहिर सहरका विद्यालयमा पढाउन लैजाने प्रवृत्ति हटाउन मण्टेश्वरी शिक्षाको अवधारणा ल्याइएको छ ।
प्रधानाध्यापक लम्सालका अनुसार विद्यालयमा आगामी शैक्षिक सत्रमा सङ्गीत, संस्कृति, खेलकुदजन्य शिक्षक व्यवस्थापन कक्षा चलाउने, अतिथि कक्ष, कम्तीमा ५० जनासम्म बसोबास गर्न मिल्ने होस्टेल राख्ने सोँच छ ।
विद्यालयमा तीन वर्षयता पूर्वप्राथमिक शिक्षा सुरु गरेपछि संस्थागत स्कुलमा नै पढाउनुपर्छ भन्ने मानसिकता राखेका अभिभावकले यस विद्यालयमा आफ्ना बालबालिका पढाउन थालेका छन् । बालबालिकाले घरमा साथीभाइबीचको आत्मीयता, परिवारका सदस्यलाई गर्ने आदर सत्कारजस्ता कुराको ज्ञान आर्जन गरेको अभिभावक महेन्द्र श्रेष्ठले बताए।
उनी भन्छन्, “हामीले खोजेजस्तो पढाइ रामतुलसीमा पाइएको छ, संस्थागतमा पढाउनुपर्छ भन्ने सोचाइ यस विद्यालयले बदलीदिएको छ, पर्याप्त खेलमैदान, प्रशस्त खेलकुदजन्य सामग्रीको प्रयोग, खेल्दै रमाउँदै पढ्ने वातावरण, बालबालिकाको राम्रो हेरचाहले यस विद्यालय सबैको रोजाइमा परेको छ ।”
यहाँ मण्टेश्वरी तालिम प्राप्त आठ शिक्षकले पढाउँछन् । किताबीमात्रै नभई व्यवहारिक ज्ञानबाट सिक्ने वातावरण तयार पारेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद पौडेल बताउँछन्।
“हिजो बालबालिका विद्यालय आउन नमानेर घरमै अभिभावकलाई सताउने, रुने अवस्था थियो तर अहिले विद्यालयको शैक्षिक वातावरण फेरिँदै जाँदा विद्यालय आउन उत्साहित हुने गरेको पाइएको छ”, उनले भने । उमेर समूहअनुसार फरक फरक खालको शौचालय छ । साना कक्षाका बालबालिकालाई विद्यालयमै बनाएर खाजा खुवाउने व्यवस्था छ ।
चारैतिर व्यवस्थित पर्खालभित्र हरियाली रुख बिरुवासहितको प्राकृतिक वातावरणमा बसेर शिक्षण गर्दा विद्यार्थीमा सिकिरहुँ, पढी राखौँजस्तो अवस्था विद्यालयले सिर्जना गरेको छ । यहाँ दुई हजार पाँच सय विद्यार्थी अध्ययनरत छन् । दुईवटा स्कुल बस नियमित चल्छ । उच्च शिक्षातर्फ कृषिबाली, विज्ञान शास्त्र, शिक्षा शास्त्र, व्यवस्थापन विषयमा पठनपाठन हुन्छ । चार कक्षाकोठामा कम्प्युटर, विज्ञान प्रयोशाला र दुई बैठक कक्ष छ । विसं २०२५ मा स्थापना भएको विद्यालय पार्टी, भवन, खुला चउर हुँदै अहिले पाल्पाकै नमूना विद्यालयको रुपमा विकास हुँदैछ । |
भरत तालमा पर्यटकको घुँइचो सर्लाही। सर्लाहीको बागमती नगरपालिका ४ र १२ मा निर्माणाधीन बागमती माछा पोखरी(भरत ताल) मा आन्तरीक पर्यटकको घुँइचो लागेको छ।
संघीय भूउपयोग नीतिअनुसार खेर गएको बागतमी नदीको उकास जमिनलाई आन्तरिक आयसग जोडेर २०७५ सालबाट निर्माण सुरु भएको सो तालमा आन्तरिक पर्यटकको घुँइचो लाग्न थालेको तालका व्यवस्थापक सन्तोष गदालले बताए।
हालसम्म डिपिआरको करिब २५ प्रतिशत काम सकिएको छ। ताल पूरा बन्दा रु दुई अर्ब लाग्नेछ। ताल बनाउन रु ७५ करोड खर्च भइसकेको छ।
मानव निर्मित तालमा निर्माणकै चरणमा ३१ साना र एउटा ठूलो डुंगा सञ्चालनमा रहेको बागमती नगरपालिका १२ का वडाध्यक्ष ओमबहादुर श्रेष्ठले जानकारी दिए। एक सय एक बिघामा पानी र २० बिघामा रोड, नेपालको चित्र, बगैँचाका साथै रिसोर्ट गरी एक सय २१ बिघामा फैलिएको ताल निर्माणकै क्रममा आन्तरिक पर्यटकले अवलोकन गर्ने क्रम बढेको छ।
नगरको विकासको गौरवको रुपमा निर्माण सुरु भएको तालबाट निस्केको पदार्थ ताल वरिपरि सडक, बगैँचा बनाउन र नगरभित्रका सार्वजनिक तथा सामाजिक काममा खर्च गरिएको-४ का वडाध्यक्ष कृष्णकुमार लामाले बताए। नगरपालिकाको आन्तरिक आयस्रोत र स्थानीयलाई रोजगारी सिर्जना गर्ने योजनाले ताल निर्माणको काम भएको हो।
“तालमा पानी भरेलगत्तै दैनिक पाँच सय आन्तरिक पर्यटक आउने अपेक्षा गरिएको भए पनि निर्माणाधीन अवस्थामै पनि आकर्षण धेरै बढ्यो। सोचेभन्दा धेरै पर्यटक आउन थाल्नुभयो”, वडाध्यक्ष लामा भन्छन्।
“सुरूमा सर्लाही र रौतहटको जनसङ्ख्या हेरेर वार्षिक १६ लाख पर्यटक लक्षित गर्दा पनि आयोजना सफल हुन्छ भन्ने थियो। भारतको बिहारबाट निकै पर्यटक आउन थाले”, नगरपालिकाका प्रमुख भरतकुमार थापाले भने।
एक हजार चार सय मिटर लम्बाइको तालको हालसम्म सात सय मिटरमा पानी जम्मा भएको छ। बाँकी पानी जमाउने योजना छ। तालमा अहिले करिब १८ लाख घनमिटर पानी छ।
सोली आकारमा बनाइएको तालको बीच भाग ७० फिट गहिरो छ। वरपर बाटोसहित एक सय २१ बिघामा ताल हुने नगर उपप्रमुख लिलाकुमारी मोक्तानले बताइन । ताल वरपर मिनी क्यासिनोसहितको होटल, बगैँचा, पिकनिक र छायांकन स्थल तथा सुमेरी पर्वत बनाउने योजना रहेको उनको भनाइ छ।
तालको वरपर धार्मिक तथा पर्यटकीयस्थल विकास गर्ने लक्ष्य रहेको प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोख्रेलले बताए। पर्यटकलाई दुई दिन अड्याउने गरी ताल वरपर पूर्वाधार बनाइने छ। नजिकै जंगल सफारीसहितको चिडियाखानाको डिपिआर, महादेव र पार्वतीको मूर्तिसहित धाम निर्माणको योजना छ।
“पशुपतिबाट बगेर आएको पानी भएकाले बागमती नदीलाई महत्वका रूपमा हिन्दूले लिन्छन्। पशुपति पुग्न नसक्ने यहीँ आउँदा पशुपति पुगेको महसुस हुने गरी पूर्वाधार विकास गर्दैछौँ”, नगर प्रमुख थापाले बताए।
तालले संस्कृति जगेर्ना, पर्यटन प्रवद्र्धन र सिँचाइमा सघाउ पुग्नेछ। “पानीमा हुने डल्फिलनसहितका जीव यहाँ राख्ने सोचमा छौँ”, नगर प्रमुख थापाले बताए। पार्किङस्थल, पिकनिकका सामग्री र डिजेसहित संगीतको व्यवस्था गरिनेछ। “आफैँ सामान ल्याउन पनि पाइनेछ”, नगर प्रमुख थापाले बताए।
भारतबाट ४२ किलोमिटर र पूर्वपश्चिम राजमार्गबाट दुई किलोमिटरभित्र यो ठाउँ प्रयोगविहीन थियो। नगरपालिकाभित्र वन, खेतीयोग्य जमिन, नागरिक( सम्पन्न, विपन्न र सुकुम्बासी) र नगरपालिकाभित्र प्रयोगविहीन जमिन कहाँ कति छ भन्ने अध्ययन सुरू गरेर संघीय भूउपभोग नीतिअनुसार नदी उकास जमिनलाई माछा पोखरीको रुपमा निर्माण सुरु गरिएको जनाइएको छ। तालको बीचमा पहिलै गहिरो रहेको थियो।
यहाँ २०२८ सालमा बागमती बग्थ्यो। पछि बगर बन्यो। दायाँबायाँको जग्गा २०६२/०६३ ताका अतिक्रमण भयो। त्यहाँका सुकुम्बासी र भूमिहीनको पहिचान गरेर सात हजार तीन सय घरधुरी सुकुम्बासी र भूमिहीनको व्यवस्थापन गरियो।
उनीहरूलाई प्रतिव्यक्ति तीनदेखि पाँच कट्ठासम्म जग्गा वितरण गरियो। जग्गा भएकालाई फिर्ता पठाएर करिब अढाइ सय बिघा जमिन नगरपालिकाको स्वामित्वमा राखियो। त्यही जमिनको सदुपयोग गर्नेक्रममा ताल बन्यो। तालमा गत वर्षादेखि पानी जम्न थालेको हो। |
फिदिममा कार दुर्घटना : एकको मृत्यु, चार जना घाइते पाँचथर। पाँचथरको फिदिम नगरपालिकास्थित कान्छी दोकान नजिकै कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा चार जना घाइते भएका छन्।
शुक्रबार बेलुका ताप्लेजुङको पाथिभरा तिर्थयात्रा गरी फर्कने क्रममा मेचिराजमार्ग सडकबाट करिब दुई सय मिटर तल खसेर कार दुर्घटना भएको हो ।
दुर्घटनामा झापा बिर्तामोड नगरपालिका-४ नमुना टोल निवासी १८ वर्षीया रश्मा भुजेलको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा परी ४० वर्षीय सिता भुजेल, ४५ वर्षीय राजु भुजेल र ३९ वर्षीय मिना भुजेल गम्भीर घाइते भएका छन्। १३ वर्षीय राजमोहन भुजेल सामान्य घाइते भएको र उनीहरू एकै परिवारका सदस्य रहेको प्रहरीले जनाएको छ।
करिब सात बजे बाक्लो हुस्सुसँगै वर्षा भइरहेको बेला सडकबाट चिप्लिएर कार खसेको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ। घाइतेहरूलाई थप उपचारको लागि बिर्तामोड रिफर गरिएको प्रहरीको भनाइ छ। |
दुर्गम गाउँका बस्तीमा सडकले फेरियो जनजीवन ढाेरपाटन। ताराखोला गाउँपालिका-५ मदमडाँडामा तीन वर्ष अगाडि सडक पुग्यो। सडक पुगेपछि स्थानीयले अहिले घरमै दैनिक उपभोग्य सामग्री किनमेल गर्न सक्छन्।
म्याग्दीकोसँग जोडिएको यो ठाउँ पर्यटकीय हिसाबले महत्वपूर्ण मानिन्छ। स्थानीय सरकार आउनुपूर्व मदमडाँडासँगै ताराखोला गाउँपालिकाले धेरै गाउँमा सडक पुगेका थिएनन्।
गाउँपालिकाले अधिकांश बस्तीमा सडक पुर्याएको छ। मदमडाँडाका ४३ वर्षीय अम्मर घर्तीले गाउँमा सडक आएपछि गाउँलेको जीवनशैली बदलिएको बताए। बजारभन्दा गाउँ निकै टाडा हुँदा यहाँका नागरिकले घण्टौँ लगाएर नुन तेल जोहो गर्नुपरेको घर्तीले स्मरण गरे।
उनले भने, “फेदीसम्म १० वर्ष अगाडि सडक आएको थियो, यहाँबाट फेदी पुगेर सामान ल्याउने गथ्यौँ, पहिला बागलुङ बजार हटिया बजार जानु पथ्र्यो, त्यहाँ जान एक दिन लाग्थ्यो, अहिले सामान घरमै आउँछ, उतिबेला महिनौँका लागि सामान बजार गएको बेला एकै पटक ल्याउनुपथ्र्यो।”
गाउँपालिकाले पाँचवटै वडाका बस्तीमा सडक पुर्याएको छ। गाउँपालिका आलु र भाँगो उत्पादनमा उर्वर मानिन्छ। अहिले यहाँका कृषिउपज वस्तु बजारीकरणमा सहज भएको स्थानीय विनोद घर्तीमगरले बताए। विगतमाकृषकले उत्पादन गरेका आलु, सिमी र भाँगो खेर जाने गरेको भन्दै अहिले सहजरुपमा बजार पाउने गरेको बताए।
उनी भन्छन्, “सडकले गाउँ र गाउँलेलाई आम्दानीसँग जोडेको छ, गाडी आएर कृषकले बेच्न चाहेका सामान लिएर जान्छ, धेरैको जीवनस्तर उकासिने क्रममा छ।” गाउँपालिकाले गाउँगाउँमा सडक विस्तार गर्न हालसम्म करिब करिब रु २० करोड बढी लगानी गरी सकेको छ।
स्थानीय ७० वर्षीया रुपकला घर्तीमगरले पछिल्लो एक दशकयता ताराखोलामा ठूलो परिवर्तन आएको बताउँछन्। उनले गाउँमा कोही सामान्य बिरामी परे डोलामा बोकेर अस्पताल पुर्याउने गरेको स्मरण गर्दै अहिले जहाँ भने त्यहाँ गाडी पुग्ने हुँदा उपचार समयमै गराउन पाएको बताए। आफूहरुले २० वर्ष अगाडि बागलुङ, बुटवललगायतका ठाउँबाट दैनिक उपभोग्य सामान किनेर उपभोग गरेको सम्झिने।
“विकास भनेको नै यही हो, हाम्रो पालामा अहिलेको जस्तो मोटर गाडी हिँड्ने सडक थिएन, हामीहरु साँघुरो गोरेटोमा हिँड्थ्यौँ, बिजुली थिएन, टुकीको भरमा रात कटाउँथ्यौँ, पढ्ने लेख्ने चलन थिएन, नुन तेल ल्याउन हप्तौ लगाएर बटौली (बुटवल) जान्थ्यौँ”, घर्तीले आफ्नो विगत स्मरण गर्दै भने, “अहिले केही कमी छैन, सबै थोक गाउँमै छ, पहिले–पहिले मान्छेहरु यहाँ विकट भयो, विकास भएन भनेर तराईतिर गए, अहिले यही तराई भयो।”
गाउँपालिकाका उपाध्यक्ष भीमबहादुर रोकाले गाउँ बस्ती छरिएकाले एकै पटक विकास हुन नसकेको भन्दै अहिले ८५ प्रतिशत बस्तीमा सडक पुगेको बताए। भौगोलिक कठिनाइका बाबजुद ताराखोलामा विकासका ढोका खुलेको उनको भनाइ।
उनले सुरुका वर्षहरुमा सडक निर्माणमा जोड दिएको भन्दै अहिले ती सडकलाई फराकिलो र बाह्रै महिना यातायात सञ्चालन हुने गरी काम गरेको बताए। सडक विकासको मुख्य आधार भएकाले यसलाई प्राथमिकतामा राखेर विस्तार गरिएको उनको भनाइ छ।
उनी भन्छन्, “एक गाउँदेखि अर्को गाउँ जोड्न धेरै बजेट लाग्छ, अहिले पालिकाका अधिकांश गाउँमा कच्ची सडक पुगेकाले नागरिकको दैनिकीमा सहज भएको, गाउँपालिकासँगै प्रदेश सरकारको लगानीमा सडक निर्माण भएका हुन्, अझै केही बस्तीमा पुर्याउनु पर्नेछ, कच्ची सडक व्यवस्थित बनाउने योजना छ।”
गलकोट नगरपालिकाको हटिया बजारदेखि हरिचौर ताराखोला हुँदै म्याग्दी जोड्ने सडक कालोपत्रेको चरणमा छ। यो सडक ताराखोलावासीलाई ‘लाइफ लाइन’ बन्ने छ। रासस |
सप्तरीमा कार दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते सप्तरी। सप्तरीमा कार दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। दुर्घटनामा अरू तीन जना घाइते भएका छन्।
शुक्रबार हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर-१ कंकालिनी मन्दिर र कोशी ब्यारेजको बीचमा टायर पन्चर भएर अनियन्त्रित भई कार दुर्घटना भएको हो। दुर्घटनामा सुनसरी इनरुवा नगरपालिका-५ का ६५ वर्षीय लीलाबहादुर कार्कीको ज्यान गएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका तीन जनाको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ। |
एसईई परीक्षाको प्रश्नपत्र आउटको प्रयास गर्ने विद्यार्थीको परीक्षा रद्द बारा । आजबाट सुरु भएको एसईई परिक्षाको अनिवार्य अंग्रेजी विषयको प्रश्नपत्र लिकको प्रयास गर्ने विद्यार्थी पवन साहको परीक्षा रद्द भएको छ । बाराको आदर्श कोतवाल गाउँपालिका वडा नं.१ स्थीत नेपाल राष्ट्रिय माध्यमिक विद्यालय चिउटाहामा परिक्षा संचालन भैरहेका बेला परीक्षार्थी साहले लुकाई लगेको मोबाइलबाट प्रश्नपत्र लिक गरेका थिए । उनले पश्नपत्रको पहिलो पन्ना सामाजिक संजाल फेसबुकबाट सार्वजनिक गरेका थिए ।
यसै घटनालाई लिएर त्यहाँका केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष र निरीक्षकसहित ५ जना निलम्वनमा परेका छन् । बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाका अनुसार केन्द्राध्यक्ष दिनेशप्रसाद साह, सहायक केन्द्राध्यक्ष पद्मराज चौधरी, विजयप्रसाद चौधरी र निरीक्षकहरू कुन्दनप्रसाद कुशवाह र श्याम किशोर गुप्तालाई निलम्बन गरिएको हो ।
प्रश्नपत्र आउट गर्ने साहको सिम्बल नं. ०३६०२९४६ भि हो । उनी सोही पालिका स्थित जनता माध्यमिक विद्यालय कचर्वाका परीक्षार्थी हुन् । उनको आजको मात्रै परीक्षा रद्द गरिएको प्रजिय सापकोटाले जानकारी दिए ।
प्रश्नपत्र बाहिरिएको सूचना पाएलगतै पुगेका बाराका प्रमुख जिल्ला अधिकारी सापकोटाले घटनाको छानविन गरेका थिए । |
पाँच दिनकी सुत्केरीले दिइन् एसईई परीक्षा मुगु । हिमाली जिल्ला मुगुमा एक साुमदायिक विद्यालयमा पाँच दिनकी सुत्केरी महिलाले एसईई परीक्षा दिएकी छन् । उनले आजबाट सुरु भएको माद्यमिक शिक्षा परिक्षा (एसईई)मा पहिलो दिन अंग्रेजी विषयको परीक्षा दिएकी हुन् ।
त्यसरी परीक्षा दिनेमा छाँयानाथ रारा नगरपालिका–१३ मा रहेको प्रकाश मावि लुममा अध्ययनरत छात्रा देवमाया बोहोरा छन् । ५ दिने सुत्केरी महिलाले एसईई परिक्षा दिईरहेकी हुन । बोहोराले छोरालाई जन्म दिएकी छन् । उनले सदरमुकाम गमगढी बजारमा रहेको महाकाली नमुना माद्यमिक विद्यालयको परीक्षा केन्द्रबाट एसईई परीक्षा दिइरहेकी छन् ।
उनले सुत्केरी भएदेखि आफूले राम्ररी आरामसमेत गर्न नपाएको बताएकी छन् । एसईई नजिक आएको र गर्भवती भएकाले परीक्षाको तयारी पनि राम्रो नरहेको उनले दुखेसो पोखिन् ।
उनले परीक्षामा लामो समय विताउँदा पाँच दिनको दूधे बालक भोकाउने भए पनि जोखिम मोलेरै भविश्य निर्माणका लागि परीक्षा केन्द्र पुगेर परीक्षामा सहभागी भएको बताएकी छन् ।
महाकाली माद्यमिक विद्यालयको परीक्षा केन्द्रका केन्द्राध्यक्ष खड्ग बहादुर रोकायाले शिक्षा नियमावलीमा सुत्केरी महिलालाई एसईई परीक्षामा समय थप्नुपर्ने कुनै व्यवस्था नभए पनि व्यवहारिकता हेरेर १५ मिनेट थप गरिएको बताएका छन् । |
पहिलो दिनको एसइई शान्तिपूर्ण भक्तपुर । आज बिहान ८ बजेबाट सुरु भएको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) देशभर शान्तिपूर्णरूपमा सम्पन्न भएको छ । पहिलो दिन ७७ जिल्लाका दुई हजार ३६ र जापानमा रहेको एक परीक्षा केन्द्रमा परीक्षा सम्पन्न भएको एसइईका परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले जानकारी दिए ।
बाराको एक परीक्षा केन्द्रमा भने प्रश्नपत्र बाहिर ल्याउन खोज्ने एक छात्राको परीक्षा रद्द गरिएको छ । प्रश्नपत्र बाहिरिन नपाउँदै नियन्त्रणमा लिएकाले अन्य परीक्षा भने रद्द गर्नु नपरेको र अनुसन्धान भइरहेको उनले जानकारी दिए । यस वर्ष परीक्षामा नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा एक किरियापुत्रीले परीक्षा दिएका छन् । जनता मावि मध्यविन्दु नगरपालिका–६ मा अध्ययनरत किरियापुत्री रामबहादुर थारूले एसइई परीक्षा दिएका हुन् ।
यस वर्ष देशभरबाट ५५ न्यून दृष्टि भएका विद्यार्थी एसइईमा सहभागी भएका छन् । उनीहरुलाई कार्यालयले नजिकको परीक्षा केन्द्रको उपकेन्द्र बनाएर सम्बन्धित विद्यालयबाटै परीक्षा दिन पाउने व्यवस्था गरिएको थियो । त्यसैगरी विभिन्न कारणले कारागार तथा बाल सुधारगृहमा रहेका विद्यार्थीले पनि यथास्थानबाटै परीक्षा दिने व्यवस्था मिलाइएको छ । यस वर्ष परीक्षामा कूल चार लाख ८४ हजार दुई सय २७ परीक्षार्थी सहभागी भएका छन् । त्यस्तै, जापानमा रहेका १४ नेपाली विद्यार्थी सहभागी भएका छन् । देशभरका परीक्षा केन्द्रमा ७८ हजार जनशक्ति परिचालन भएका छन् । यस वर्षको परीक्षाका लागि ५० लाख सेट प्रश्नपत्र छपाइ गरिएको छ । परीक्षा चैत २९ गते सम्पन्न हुनेछ । |
न्यायको पर्खाइमा प्रसूति महिला, श्रीमान फरार भएपछि शिशु र आमाको बिचल्ली सिरहा। प्रेमको मायाजालमा फसेकी एक प्रसूति महिला अहिले न्यायको खोजीमा भाैँतारिरहेकी छिन् । सिरहाका सुलैना दासलाई प्रेमको मायाजालमा फसाएर गर्भवती बनाइ श्रीमानले छोडेर हिँडेपछि दुई वर्षीय बालक र १९ दिने दुधे बालिकासहित अहिले न्यायको पर्खाइमा बसिरहेकी छिन् ।
सिरहाको सुखीपुर नगरपालिका–३ सलमपुरका कुलदिप दाससँग प्रेम विवाह गरेकी सुलेना दास श्रीमान फरार भएपछि दुधे बालिकासहित उनी बिचल्लीमा परेकी हुन्।
दुई वर्षअघि कुलदिपसँग प्रेम विवाह गरेको सुलेनाले बताइन् । सुखीपुरमा टेन्टको बाजा बजाउने काम गर्दै आएका कुलदिपसँग नजिकिएकी उनले आफू दोस्रोपटक गर्भवती भएको बताएपछि श्रीमानले गोलबजारमा डेरा खोजेर राखिदिएको सुनाइन् ।
कुलदिपसंग बिहे गरेलगतै छोरा जन्माएका उनी १९ दिन पहिले फेरि अर्को सन्तानको रुपमा छोरीलाई जन्म दिएकी छिन् । उनले भनिन्, ‘पहिलो सन्तान दुई वर्षको छ, अहिले फेरि छोरी पाएको छु ।’
तीन महिनाको गर्भ भएपछि घरबाहिर गोलबजारमा राखेर फरार भएका श्रीमानको खोजी गरी न्याय दिलाइदिन जिल्ला प्रहरीसँग गुहार मागे पनि न्याय पाउन नसकेको उनले गुनासो गरिन् । ‘अब सुत्केरी अवस्थामा दुधे बालक लिएर कहाँ जानु, कसलाई गुहार्नु ?,’ उनले दुखेसो पोख्दै भनिन्, ‘प्रहरीकोमा जाँदा उल्टै गाली गरेर फर्काउँछन्, कोसँग कहाँ गएर न्याय माग्नु ?’
केही दिनअगाडि प्रहरीले पैसा खाएर गुपचुपै कुलदिपलाई विदेश पठाइदिएको सुनेको उनले बताइन् । ‘अब त न्याय पाउने आश पनि मरेर गयो । म जस्तो असहायलाई कसले सहायता गर्छ ?,’ उनले भनिन्, ‘डेरामै रहँदा कहिलेकाहीं आउने श्रीमानले एकाध हजार दिएर जान्थे, त्यही बेला गर्भवती भएछु । दुई छाक खान समेत गाह्रो परिरहेको छ ।’
हालसम्म उनलाइ मुक्ति नेपालले सहयोग गरिरहेको बताइन् । कुलदिपले ल्याए पनि उनको घरपरिवारले नस्वीकारेकाले घर जान नसकिएको र आफ्नै खुसीले विवाह गरेकाले माइत जाने अवस्था पनि नरहेको सुनैनाले सुनाए । उनले भनिन्, ‘घर जाउँ सासु ससुराले तँलाई चिन्दैनौँ, हामी घरमा भन्दै पस्नै दिँदैनौँ भन्नुहुन्छ । आफ्नै मर्जीले विवाह गरेकाले माइत जान पनि सक्दिनँ ।’
गर्भवत्ति अवस्थामा सुनैना कसको सहारामा सुत्केरी हुने चिन्तामा थिइन् । काखे बालक र अर्को जन्मने अवस्थाको गर्भले उनी ब्याकुल रहेको अवस्थामा हामीले समाजिक उतरदायित्व पूरा गरेको मुक्ति नेपाल संस्थाका कार्यकारी निर्देशक श्यामकुमारी साहले बताइन् ।
महिला अधिकारका लागि क्रियायाशील स्थानीय मुक्ति नेपालले गर्भवती दासलाई मनोविमर्श सेवा, स्वास्थ्य उपचारमा सहयोगसहित जिल्ला प्रहरीमा निवेदन दिन सघाएको संस्थाका निर्देशक साहले जनाइन् । विवाह गरेको दुई वर्ष बितिसकेपनि उनको नागरिकता बनेको छैन । माइतीबाट जन्म प्रमाणित ल्याएको कागज पनि श्रीमानले लिएर हिँडेको सुनैनाले बताइन् । उनले भनिन्, ‘अरु केही नभएपनि तत्काल नागरिकता, विवाह दर्ता र छोराको जन्मदर्ता बनाई दिए हुनेथियो ।’ |
घरेलु तथा साना उद्योग कार्यालयको सेवा अब अनलाइनबाट बनियानी। घरेलु तथा साना उद्योग कार्यालय भद्रपुरले अनलाइन प्रणालीबाट सेवा प्रवाह सुरु गरेको छ।
कार्यालय परिसरमा आज आयोजिक एक कार्यक्रमका बीच कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाले कार्यालयको उद्योग तथा वाणिज्य प्रशासन प्रणाली (आसिएएस)को शुभारम्भ गरे।
अनलाइनको मध्यमबाट सेवा प्रवाह छिटो–छरितो र सुशासन कायम गर्न झापाबाट उद्योग तथा वाणिज्य प्रशासन प्रणालीको सुरुआत गरिएको मन्त्री सिटौलाको भनाइ छ।
“आजदेखि झापाबाट यो सेवा सुरुआत गरेका छौँ”, उनले भने, “अब क्रमशः प्रदेशभरि अनलाइन प्रणाली सञ्चालन हुनेछ।”
अब कार्यालयद्वारा प्रदान गरिने नयाँ दर्ता, नवीकरण, प्रतिलिपि, नाम सच्याउनेलगायतका उद्योग तथा वाणिज्यसम्बन्धी सबै सेवा अनलाइनबाटै हुने कार्यालयका निमित्त कार्यालय प्रमुख प्रेमप्रसाद सापकोटाले जानकारी दिए। राजस्व बुझाउन कार्यालयमै जानुपर्ने छ। राजस्वलाई पनि चाँडै अनलाइनबाटै गर्ने व्यवस्था हुने उनको भनाइ छ।
घरेलु तथा साना उद्योग कार्यालयको सेवाप्रवाह छिटो–छरितो र प्रभावकारी बनाउन उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय कोशी प्रदेशले आसीएएस प्रणालीको विकास गरेको हो, कार्यालयका कर्मचारी चन्द्र पौडेलले बताए।
कार्यक्रममा संविधानसभा सदस्य पूर्णसिंह राजवंशी, जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बराल, प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक रामकृष्ण श्रेष्ठलगायतले सरकारी सेवालाई चुस्त–दुरुस्त र सेवाग्राहीमैत्री बनाउनुपर्नेमा जोड दिए। |
इलाम कारागारबाट थुनुवा फरार मङ्गलबारे। इलाम कारागारबाट एक थुनुवा फरार भएका छन्। झापाको मेचीनगर नगरपालिका–३ बाहुनडाँगीका ३४ वर्षीय साइला भनिने मनराज राई फरार भएका हुन्। इलाम कारागार देशकै नमूना सुधारगृहका रुपमा परिचित भए पनि यहीबाट थुनुवा फरार भएकाले घटनालाई आश्चार्यको रूपमा लिइएको छ।
बिहीबार साँझ साढे ५ बजेपछि कैदी र थुनुवा गणना गर्ने क्रममा उनी फेला नपरेकाले फरार भएको खुलेको हो। कारागारमा हरेक साँझ थुनुवा गणना गर्ने गरिन्छ।
गणनाका क्रममा उनी फेला नपरेपछि सम्बन्धित कार्यालयमा जानकारी गराइ नाका साथै खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख दिलीपकुमार घिमिरेले जानकारी दिए।
डकैती मुद्दामा कैदी जीवन बिताइरहेका उनलाई गएको असोज ९ मा पक्राउ गरेर कात्तिक १५ मा कारागार चलान गरिएको थियो। यस कारागारभित्र यसअघि मादक पदार्थ सेवन गरी तास खेल्दै गरेको भिडियोसमेत सार्वजनिक भएको थियो। |
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ धनुषा। स्रोत नखुलेको नगदसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जनकनन्दनी गाउँपालिका-५ बनरझुला चौकी अगाडिबाट स्रोत नखुलेको नगद १४ लाख रूपैयाँसहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा धनुषाधाम नगरपालिका-२ धनुषाधाम बस्ने ५५ वर्षीय जोगिन्द्र यादव र १९ वर्षीय कृष्ण साह रहेका छन्। ईलाका प्रहरी कार्यालय खजुरी र प्रहरी चौकी बल्हागोठबाट खटिएको संयुक्त टोलीले जयनगरबाट जनकपुरतर्फ जाँदै गरेको प्रदेश २-०२-००३ प ७०४५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। |
चर्चामा ऐतिहासिक ओदानडाँडा, ओदान हेर्न आउनेको संख्या बढ्यो बागलुङ । ठूलो फाँट छेउको ओदानडाँडाको स्वरुप पछिलो दुई वर्ष यता फेरिएको छ । धार्मिक पर्यटक भित्र्याउने लक्ष्यका साथ केही समयअघिसम्म गुमनाम रहेको ओदानडाँडा स्थानीयका सक्रियतामा पूर्वाधार र प्रचारप्रसारपछि चर्चामा आएको छ ।
आकाशबाट खसेको प्राकृतिक ओदान संरक्षण गरेर राखिएको स्थानलाई अहिले पर्यटकीय गन्तव्य बनाउने उद्देश्यका साथ पछिल्लो दुई वर्षयता थुप्रै पर्यटकीय पूर्वाधार थपिएपछि ओदानडाँडाको चर्चा चुलिन थालेको छ ।
ऐतिहासिक महत्व बोकेको ओदानडाँडाको संरक्षण र विकासका लागि गठन भएको ओदानडाँडा संरक्षण समितिको अगुवाइ, स्थानीयको सहयोग र पालिका र गण्डकी प्रदेशको सहयोगमा सो क्षेत्रमा पूर्वाधार निर्माणपछि आन्तरिक पर्यटकसमेत आउन थालेका छन् ।
ऐतिहासिक महत्व बोकेर पनि ओझेलमा परेको बागलुङको काठेखोला गाउँपालिका–७ रेश स्थित ओदानडाँडा स्थानीयको सक्रियतामा संरक्षणको काम भएको हो । ओदान रहेको मन्दिर र सत्तल मात्रै रहेको स्थानमा अहिले पदमार्ग, प्रवेशद्वार, आकर्षक पानीको फोहोरासहितको पोखरी, व्यवस्थित सत्तल र जग्गा व्यवस्थापनको काम भएको छ ।
बाइसेचौबिसे राज्यअन्तर्गत भूरे राजाका पालामा आकाशबाट चट्याङ खस्ने क्रममा खसेको प्राकृतिक ओदान संरक्षित गरेर राखिएको उक्त स्थानलाई पछि ओदानडाँडा नामकरण गरिएको थियो । अहिले ओदानडाँडा पर्यटकीय गन्तव्य बन्दै गएको स्थानीय रामचन्द्र गौतमले बताए।
“अहिले ओदान कस्तो रहेछ भनेर हेर्न आउनेको सङ्ख्या बाक्लो छ, यसलाई हिन्दू धर्मसँग जोडेरसमेत कतिले पूजाआजा गर्ने गरेका छन्”, उनले भने, “बिस्तारै ओदान हेर्नेका लागि चासो दिने बढेका छन् ।”
परापूर्वकालदेखि नै ऐतिहासिक ओदानको संरक्षण गरेर राखिएको उक्त क्षेत्र लामो समयदेखि ओझेलमा परेपछि स्थानीयको सक्रियतामा दुई वर्षअघिदेखि मात्रै ऐतिहासिकस्थल ओदानडाँडाको संरक्षण थालिएको थियो ।
“गुमनाम रहेको ओदानडाँडा संरक्षण र प्रचारप्रसारसँगै चर्चामा आउन थालेको छ, रेश जाने सडक सुधार भएको खण्डमा धार्मिक पर्यटकको चाप बढ्ने देखिन्छ”, उनले भने, “ऐतिहासिक प्रमाणसहितको ओदानडाँडामा हालसम्म पूर्वाधार निर्माणमा झण्डै रु ४० लाख खर्च भइसकेको छ, चर्चित लोकभजन गायक रेशम सापकोटाद्वारा ओदानडाँडाको विषयमा रचना गरेको भजन र छायाङ्कन गरेको दृश्य अहिले तरेली सङ्गीतकुञ्जको युट्युब च्यानलमा ६१ हजारले हेरिसकेपछि ओदानडाँडा एकाएक चर्चामा आउन थालेको हो ।”
चट्याङ पर्दा खसेको ओदानको एक खुट्टा खसेपछि दुईखुट्टे ओदान संरक्षण गरेर ओदानडाँडा मन्दिरमा राखिएको छ । आदानडाँडाको गुरुयोजना बनाएर ओदानडाँडाको तारबार गर्ने, ओदानडाँडा क्षेत्र विस्तार गर्ने र उक्त स्थानमा पुग्ने पदमार्ग निर्माणपछि ओदानडाँडाको मुहारै फेरिएको छ ओदानडाँडा संरक्षण संस्थाका अध्यक्ष विष्णुप्रसाद गौतमले जानकारी दिए ।
आर्थिक वर्ष २०७७÷७८ मा काठेखोला गाउँपालिकाको र वडा कार्यालयको रु चार लाख, चालु आर्थिक वर्ष गण्डकी प्रदेशको सामाजिक विकास कार्यालय बागलुङको रु सात लाख र वडा कार्यालयको रु एक लाख ५० हजार तथा स्थानीयबाट सङ्कलित गरेको रु २५ लाखबाट धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास भइरहेको ओदानडाँडामा पूर्वाधार निर्माण गरिएको हो ।
स्थानीय सहयोगदाताले एक हजारदेखि रु एक लाख ११ हजारसम्म ओदानडाँडा संरक्षणमा रकम तथा भौतिक पूर्वाधारका सामग्री सहयोग गरेका थिए ।
सत्तल व्यवस्थापन, एक सय मिटर तारबार, शिवमूर्तिसहितको पानीको फोहोरा, पदमार्ग र मन्दिर परिसरमा रेलिङ, प्रवेशद्वार, एक सय आठ शिवलिङ्ग, एक सय आठ केजीको तामाको ओदान, मन्दिर अगाडिको जग्गा व्यवस्थापन, पक्की प्राङ्गण निर्माण र तीन सय मिटर लामो पक्की पदमार्ग निर्माण गरिएको छ ।
“यो दुई वर्षमा धेरै मेहनत गरियो, स्थानीयको सहयोगमा प्राप्त रकमबाट पूर्वाधार निर्माणसँगै प्रचारप्रसारका लागि भजनसमेत छायाङ्कन गरियो, अहिले भजन हेरेकै आधारमा टाढाटाढाबाट धार्मिक पर्यटक ओदान हेर्न ओदानडाँडामा आउछन्”, संरक्षण संस्थाका अध्यक्ष गौतमले भने, “प्राकृतिक ओदानसँगै एक सय आठ केजीको तामाको ओदान राखेपछि पर्यटकलाई थप आकर्षण गर्नेछ, अझै मन्दिरमा सय मिटर जाली, ओदानडाँडादेखि खर्दाङ र खर्दाङदेखि धनीखोरिया झोलुङ्गे पुल निर्माण गर्ने र ओदानडाँडादेखि दामगाडेसम्म पक्की पदमार्ग बनाउने र शौचालय व्यवस्थापनको काम बाँकी रहेको छ ।”
ओदानडाँडा पुर्खाको तपोभूमि तथा ऐतिहासिक र धार्मिक तीर्थस्थलका रुपमा रहेकाले यसको संरक्षण, पूर्वाधार निर्माण तथा प्रचारप्रसार गर्न थालिएको काठेखोला गाउँपालिका–७ रेशका वडाध्यक्ष प्रेम लामिछानेले जानकारी दिए।
पालिकाको गुरुयोजनामा समावेश गरेर ओदानडाँडाको विकास गरिएको लामिछानेको भनाइ छ । बाइसेचौबिसे राज्यका पालामा राजाले यस स्थानमा कोट निर्माण गर्न थालेपछि गौतम थर गरेका विज्ञ पुजारीले उक्त स्थानमा बज्र अर्थात् चट्याङ खस्ने र कोट तथा दरबार क्षति हुने बताएपछि राजा रिसाएर पुजारीलाई कारबाही गरेको तर उक्त स्थानमा विज्ञले भने जस्तैगरी ओदान सहितको बज्र खस्दा एक खुट्टा भाँचिएको ओदान भेटिपछि त्यसलाई संरक्षण गरी राखिएका कारण उक्त स्थान ऐतिहासिक, पुरातात्विक तथा धार्मिक हिसाबले निकै महत्वपूर्ण रहेको स्थानीय कृष्णप्रसाद गौतमले जानकारी दिए। |
दाइजाे प्रथा र महिला हिंसाविरुद्ध मधेशमा सडक नाटक प्रदर्शन (तस्बिरहरु) सिरहा। मधेस प्रदेशमा दाइजाे प्रथासँगै महिला हिंसाको घटनामा कमि आएकाे छैन । बढ्दो दाइजाे प्रथाका कारण महिला हिंसाका घटनाहरु दिनदिनै बढिरहेका छन्। केटी पक्षले भनेजति दाइजाे नदिएकै निहुँमा मधेशमा महिलाकाे हत्यासम्म हुने गरेको छ।
बढ्दो दाइजाे र महिला हिंसा न्यूनिकरणको लागि जनचेतना फैलाउने उद्देश्यसहित दलित महिला केन्द, नेपाल (सीडीडव्लूएन) ले मधेश प्रदेशको सिरहा, बारा र पर्साका १० पालिकाहरुमा ‘लैङ्गिक हिंसा’सम्वन्धी सडक नाटक प्रदर्शन गरेको छ।
नेपाली समाजमा गहिरोगरी गडेर रहेको छोराप्रतिको आशक्तिलाई नाटकले छर्लङ देखाएको छ। ‘छोरा नपाएकै कारण बुबाआमा, समाज, पारिवारिकबाट मानसिक हिंसा खेप्न बुहारीहरू बाध्य छन्, जसलाई नाटकमा जस्ताको तस्तै प्रस्तुत गरिएको छ।
भनेजती दहेज नल्याउने र छोरीमात्र पाउने बुहारीको हविगत कस्तो हुन्छ भन्ने नाटकले देखाइएको छ। त्यस्ता श्रीमतीले दिनहुँ मानसिक तथा शारीरिक हिंसा व्यहाेर्नुपर्नेदेखि हत्यासम्म हुने गरेको मधेशको तितो सत्य हो। जसलाई नाटकले प्रस्ट पारेको छ।
विशेषगरी मधेसी समाजमा भनेजति दाइजाे नल्याउँदा एउटा बुहारी, श्रीमतीले भोग्नु पर्ने प्रताडनलाई महत्वका साथ नाटकले दर्शाएको छ। सामाजिक कुशंस्कारको रुपमा रहेको दाइजाेप्रथा, छोरी जन्माएकाे कारण महिलाले भोग्नुपर्ने हिंसालाई नाटकले दर्शाएको छ।
समाजमा कुरीतिको रुप लिँदै गरेको दाइजाेप्रथा, कहाली लाग्दो अवस्थामा फैलिँदै गरेको महिला हिंसा र मानवीय कलङ्कको रुपमा रहेको छुवाछुतप्रथाविरुद्ध सचेतना फैलाउने उद्देश्यले मधेसका जिल्लाहरुमा नाटक मञ्चन गरिएको संस्थाका संयोजक संचिता महर्जनको भनाई छ।
आनन्द पाख्रिनको लेखन तथा निर्देशनमा प्रदर्शित नाटको मुख्य भूमिकामा सिरहाका चर्चित कलाकार मुकेश यादव ‘नेपाल’, कल्पना पासवान, ज्ञानु श्रेष्ठ, सुनील लामा, टुना आले मगर, विजय साहसहित दर्जनबढी कलाकारको सहभागिता छ।
नाटक सिरहाको धनगढीमाई, गोलबजार, कर्जन्हा नगरपालिका, र नरहा गाउँपालिकामा पर्दशन गरिएको छ। त्यसैगरी, बाराको निजगढ, कोलहवी नगरपालिका र करैयामनी गाउँपालिकामा र पर्साको पटेर्वा सुगौली, ठोरी र सखुवा प्रसौनी गाउँपालिकामा प्रदर्शन गरिएको आयोजकले बताएको छ।
|
इलाम साहित्य महोत्सव हुने मङ्गलबारे। इलामको सदरमुकाममा आगामी चैत २६ र २७ गते इलाम साहित्य महोत्सव हुने भएको छ। ‘पर्यटनका लागि साहित्य’ भन्ने नाराका साथ हुन लागेको महोत्सवमा नेपाल र भारतका साहित्यकारको उपस्थिति रहने आयोजकले जनाएको छ।
इलाम साहित्य समाज र इलाम नगर साहित्य कला सङ्गीत प्रतिष्ठानको संयुक्त आयोजनामा सञ्चालन हुने महोत्सवमा साहित्य क्षेत्र, रङ्गकर्मीका साथै राजनीतिक क्षेत्रका व्यक्तित्व सहभागी हुनेछन्।
कला र साहित्यसँगै पर्यटनलाई जोडेर महोत्सव आयोजना गर्न लागिएको साहित्य समाजका अध्यक्ष सुरेन्द्रकुमार राईले बताए। जिल्ला बाहिरबाट मात्रै एक सय ६० बढी साहित्यकारलाई निमन्त्रणा गरिएको उनले जानकारी दिए।
साहित्य रुची भएका मानिसलाई सहभागिताका लागि अनुरोध गरिएको नगर साहित्य कला सङ्गीत प्रतिष्ठानका अध्यक्ष प्रकाश थाम्सुहाङको भनाइ छ। उनका अनुसार महोत्सवमा सात्यिकार, कुलपति भुपाल राई, यस क्षेत्रका सांसद तथा रङ्गकर्मीको उपस्थिति रहने छ।
साहित्यप्रति युवाहरुको आकर्षण बढाउन साहित्य महोत्सवले मद्दत पुग्ने बताइएको छ। रू १८ लाख खर्च लाग्ने अनुमान गरिएको उक्त महोत्सवलाई नेपाल प्रज्ञा प्रतिष्ठानले समेत सहयोग गर्ने बताइएको छ।
महोत्सवमा कवितामा स्थानीय चेत, कला र आदिवासी सौन्दर्य चेतना, महाभाराबाट टिष्टासम्म, कस्तो सिनेमा, सफल कि सार्थक, समावेशी लेखन, नेपालको पर्यटनमा पूर्वेली भाषा, साहित्य र सत्ता, मातृभाषा साहित्यमा शिल्प चेतनालगायत विषयमा छलफल र बहस हुनेछ।
‘कोशी प्रदेश कहिले बन्छ, एक नम्बर प्रदेश ?’ शीर्षकमा पत्रकार वसन्त बस्नेतले गुरुराज घिमिरे, प्रदीप ज्ञवाली र घनश्याम भुसालसँग बहस गर्ने कार्यक्रम तय भएको छ। |
तीन जिल्लाको संगमस्थल पातीहाल्नेमा बढ्यो पर्यटकको चहलपहल बागलुङ। राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको मध्यपहाडी लोकमार्गमा पर्ने पातीहाल्नेमा पछिल्लो समय आन्तरिक पर्यटकको चहलपहल बढेको छ । बागलुङ, पूर्वीरुकुम र रोल्पाको संगमस्थल पातीहाल्नेमा गर्मीयाम सुरु भएपछि दिनप्रतिदिन यहाँ आउने पर्यटकको सङ्ख्या बढ्न थालेको छ ।
चिसो हावापानी, शान्त वातावरणका कारण यहाँ पर्यटक पुग्ने गरेका हुन् । छेउमै रहेका रिगताल र तिलाचन तालले गर्दा पातीहाल्नेमा आगन्तुकको चहलपहल बढी हुने गरेको छ । बागलुङ र पूर्वीरुकुम दुवैतर्फबाट सहजरूपमा यहाँ आउन सकिने हुँदा पर्यटकको रोजाइमा पातीहाल्ने पर्न थालेको हो ।
रिगताल बागलुङको निसीखोला गाउँपालिका–६ मा पर्छ भने तिलाचन ताल रोल्पाको सुनछहारी गाउँपालिका–१ मा पर्छ । पातीहाल्नेबाट १५ मिनेटको पैदलयात्रामा रिगताल पुग्न सकिन्छ भने आधा घन्टामा तिलाचन ताल पुग्न सकिन्छ ।
रिगतालसम्म मोटरबाटो पुगेको हुँदा आगन्तु गाडीमा पनि पुग्न सक्छन् । बाह्रै महिना पर्यटकले भरिने पातीहाल्ने यो समय अझ बढी आएको निसीखोला गाउँपालिका–६ का अध्यक्ष हेमबहादुर बुढामगर (सूर्यमान)ले बताए । सामाजिक सञ्जाल तथा विभिन्न सञ्चारमाध्यममा यी ठाउँको प्रचार–प्रसार तीव्ररूपमा भएको हुँदा पातीहाल्ने पर्यटकको रोजाइमा परेको बताए । केही वर्ष अगाडि निसीखोला गाउँपालिकाले पातीहाल्नेबाट रिगतालसम्म सडक पु¥याए पनि अहिले सीमा विवादका कारण पर्यटन पूर्वाधार बन्न नसकेको अध्यक्ष बुढामगरको भनाइ छ ।
“पहिले त यहाँका चर्चा खासै थिएन, जब मध्यपहाडी लोकमार्ग कालोपत्र भयो त्यसयता हजारौँ पर्यटक यहाँ आएर रमाउने गरेका छन्, ठाउँ निकै रमणीय छ, यहाँ थुप्रै पूर्वाधार निर्माण गर्नुपर्ने छ”, अध्यक्ष बुढामगरले भने, “अहिले केही समस्या परेको हुँदा काम गर्न सकिएको छैन, समस्या समाधान भयो भने पालिकाले प्रदेश र केन्द्र सरकारसँग सहकार्य गरेर काम गर्नुपर्ने देखिएको छ ।”
स्थानीय वीरबहादुर विकले दैनिक डेढ सय बढी आन्तरिक पर्यटक घुम्न आउने गरेको बताए । उनले हिउँसँग रमाउन र गर्मी छल्न आउनेको सङ्ख्या धेरै हुने गरेको बताए। विकले यहाँ घुम्न आउनेले स्थानीय उत्पादन आलु, सिमी, भाँगो र चोयाबाट बनाइएका सामान किनेर लैजाने गरेको सुनाए ।
“यहाँ घुम्न आउने मान्छे एक ठाउँका मात्रै छैनन्, धेरै जिल्लाबाट आउने गर्छन्, कति टेन्ट टाँगेर दुई–चार दिन यही बस्ने रमाइलो गर्ने गर्छन्, यहाँ बस्दाखेरी लोकल कुखुरा, आलु किनेर यही नै पकाएर खान्छन्”, उनले भने, “स्थानीयलाई पनि पैसा हुने भयो, दुई वर्ष जति भयो धेरै मान्छेहरू आउन थालेको ।”
यो याममा त अझ वरपर फुलेका लालीगुराँसले धेरैको मन लोभ्याउने गरेको छ । पातीहाल्ने पुग्ने अधिकांश पर्यटक रिगताल र तिलाचन तालमा पुग्छन् । सडकको सहज पहुँच भएको हुँदा बर्खामा पनि यहाँ पर्यटकको कमी हुँदैन ।
पूर्वीरुकुमबाट घुम्न आएका शिवकुमार खड्काले सडक सहज भएको हुँदा आफू पटक–पटक घुम्न आएको बताए । लोकमार्गमा यात्रा गर्दा पूर्वीरुकुमबाट लुकुमगाउँ हुँदै पातीहाल्नेसम्म अनेकौँ सुन्दर दृष्य अवलोकन गर्न सकिने हुँदा लामो बिदा पर्दा घुम्न आइराख्ने बताए।
“पाँच–छ वर्ष अगाडि यहाँ एकपटक आएको थिएँ, यस्तो चहलपहल थिएन, यहाँ घर पनि बनेका थिएनन्, सुनसान थियो, अहिले यो ठाउँ निकै फेरिएको छ, अलि चोसो ठाउँ हो भयो, त्यही भएर गर्मी ठाउँबाट धेरै आउने गरेको पाइन्छ,” खड्काले भने, “मुख्य कुरा त विकास नै रैछ, यो सडक नबनेको भए यो ठाउँ ओझेलमै हुन्थ्यो, तर अब उत्कृष्ट गन्तव्य मध्यमा पर्छ यो ।”
यो स्थानमा बागलुङको दोस्रो व्यापारिक केन्द्र बुर्तिबाङबाट एक घन्टामै पुग्न सकिन्छ । बिदाको दिन करिब तीन सय पर्यटक यहाँ पुग्ने गरेको स्थानीयको भनाइ छ । |
गण्डकीमा ४३ हजार एक सय ६४ विद्यार्थी एसइई दिँदै गण्डकी। माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षामा गण्डकी प्रदेशबाट ४३ हजार एक सय ६४ विद्यार्थी सहभागी भएका छन्।
आजदेखि सुरु भएकोे परीक्षामा सहभागी विद्यार्थीमध्ये साधारणतर्फ ४१ हजार पाँच सय १६ विद्यार्थी रहेको प्रदेश शिक्षा निर्देशनालय, गण्डकी प्रदेशका प्रमुख अम्बिका आचार्यले जानकारी दिए। उनका अनुसार परीक्षामा प्राविधिकतर्फ एक हजार तीन सय ७६ विद्यार्थीले परीक्षा दिँदैछन् भने ग्रेड वृद्धिको परीक्षा दुई सय ७२ जनाले दिँदैछन्।
कास्की जिल्लामा यस वर्षको एसइईमा १० हजार चार सय ४२ जना विद्यार्थी सहभागी भएको जिल्ला शिक्षा समन्वय इकाई प्रमुख नारायण सुवेदीले जानकारी दिए। उनका अनुसार जिल्लामा साधारणतर्फ १० हजार एक सय ४३ र प्राविधिकतर्फ दुई सय नौजना विद्यार्थी परीक्षामा सहभागी बन्दैछन् भने ग्रेड वृद्धि परीक्षा दिने ८६ छन्।
एसइईको पहिलो दिन आज अङ्ग्रेजी विषयको परीक्षा सौहार्दपूर्ण रुपमा सञ्चालन भएको उनले बताए। |
ट्याक्टर दुर्घटनामा एकको मृत्यु, दुई घाइते दमौली। तनहुँको भानु नगरपालिका-२ भकुन्थोकमा आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
मल ल्याउँदै गरेको ट्र्याक्टरको टेलर छिनेर सोही टेलरले च्यापिएर एकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। मृतकको विवरण खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक भानु शर्माले जानकारी दिए।
दुर्घटनामा घाइते दुई जनाको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। ट्र्याक्टर चालक प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ। |
मेची नदीको वर्षेनी हुने बाढी र कटानको क्षति रोक्न बजेट अभाव झापा । वर्षेनी नदीको तटीय क्षेत्रमा हुने कटान र बाढीको क्षतिलाई रोक्न झापामा बजेट अभाव भएको छ ।
ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयमार्फत आउने न्यून बजेटले नदीको कटान र बाढी छेक्ने तटबन्ध निर्माण अपुरो हुने गरेको छ । यसले नदी नियन्त्रण सम्भव हुन सकेको छैन । आर्थिक वर्ष २०७९/८० का लागि जलस्रोत तथा सिँचाइ विभागले झापाको मेची नदी नियन्त्रण कार्यका लागि रु दुई करोड बजेट विनियोजन गरेको छ ।
यो बजेट स्पर निर्माण, आपत्कालीन नियन्त्रण, बायोइन्जिनियरिङलगायत कार्यका लागि आएको जनताको तटबन्ध कार्यालय झापाका सूचना अधिकारी दुर्गाप्रसाद पोखरेलले बताए।
मेची नदीले तटीय क्षेत्रमा पु¥याउने गरेको क्षति हेर्दा सरकारले पठाएको बजेटले एक छेउ पनि पुग्दैन । “तीन किलोमिटर क्षेत्रमा बाँध निर्माणका लागि यो बजेट आएको हो, धमाधम काम भइरहेको छ”, उनले भने ।
जलस्रोत तथा सिँचाइ विभागले नै दश वर्षअघि नै तयार पारेको गुरुयोजनाअनुसार मेची नदी नियन्त्रणका लागि रु पाँच अर्ब ५७ करोड बजेट आवश्यक पर्दछ । झापामा मेची, कनकाई, बिरिङ, रतुवा, निन्दा, कमल, मावालगायत नदीले बर्सेनि तटीय क्षेत्रमा बाढी तथा कटानका कारण ठूलो क्षति पु¥याउँदै आएका छन् ।
मेचीनगरको बाहुनडाँगी क्षेत्रमा मेचीले पु¥याउने गरेको क्षति रोक्न तटीय क्षेत्रमा बलियो बाँध बनाउनुको विकल्प नरहेको उल्लेख गर्दै मेचीनगर–४ का निरज घिमिरेले नदी नियन्त्रणमा सरकारले पर्याप्त बजेट नपठाउँदा काम पूरा हुन नसकेको गुनासो गरे।
“छुस्छुस् कनिका छरेजस्तो बर्सेनि थोरै बजेट पठाउनुभन्दा एकैचोटी बलियो बाँध बनाउन पुग्ने गरी पर्याप्त पठाउँदा नदी नियन्त्रणको काम प्रभावकारी हुन्छ”, उनले भने, “अहिले काम पनि भइरहेको जस्तो लाग्छ, तर बाढी र कटान पनि रोकिएको छैन ।”
बजेट अभावकै कारण भरपर्दो काम हुन नसकेको सरकारी निकाय नै स्वीकार गर्दछ । बजेट अभावकै कारण सयौँ स्थानमा बाढी र कटानको उच्च जोखिम भए पनि समाधानमुखी कुनै काम गर्न नसकिएको जनताको तटबन्ध कार्यालय झापाका सूचना अधिकारी पोखरेल बताउँछन्।
एक दशकअघि तयार पारिएको गुरुयोजनाअनुसार झापालाई बाढीको क्षतिबाट मुक्त गर्नका लागि रु १७ अर्ब ५९ करोड बजेट आवश्यक पर्छ । चालु आवमा जनताको तटबन्ध कार्यालयलाई नदी नियन्त्रणका लागि रु १७ करोड ५३ लाख बजेट पठाएको छ । झापामा जनताको तटबन्ध कार्यालयले नै जिल्लाभरका नदीमा बाढी तथा कटान रोक्न प्राथमिकता र आवश्यकताका आधारमा तटबन्ध निर्माणको परियोजना कार्यान्वयन गर्दै आएको छ ।
नेपाल सरकारले जलस्रोत तथा सिँचाइ विभागमार्फत बिरिङ नदी नियन्त्रणका लागि रु तीन करोड, कनकाई नदी नियन्त्रणका लागि रु छ करोड, रतुवा मावा नदी (झापा) नियन्त्रणका लागि रु चार करोड ६५ लाख, रतुवा मावा नदी ९मोरङ० नियन्त्रणका लागि रु दुई करोड र कमल नदी नियन्त्रणका लागि रु एक करोड ९९ लाख बजेट चालु आवमा विनियोजन गरेको छ ।
यसबाहेक एसियाली विकास बैंकको ऋण सहयोगमा नेपाल सरकारले दमकको रतुवा मावा नदीमा रु ३० करोडको लागतमा १२ किलोमिटर बाँध निर्माण गरिरहेको छ । तीन वर्षे सम्झौताअन्तर्गत मैनाचुली निर्माण सेवा प्रालिले ठेक्कामा लिएको सो तटबन्धको कार्य आधा मात्र भएको छ । हालसम्म पाँच किलोमिटर तटबन्ध निर्माण भइसकेको जनताको तटबन्ध कार्यालय झापाले जनाएको छ ।
झापाको समथर क्षेत्रमा जलाधार क्षेत्रबाट भूू–क्षय भइआउने ढुङ्गा, गिट्टी, बालुवालगायतका सामग्री थुप्रिएर नदीले धार परिवर्तन गर्दा बाढीको डुबान र तटीय क्षेत्रमा कटान तीव्र हुने समस्या छ ।
गुरुयोजनाअनुसार रतुवा–मावाको तटबन्धका लागि रु तीन अर्ब ८९ करोड, कमल नदीका लागि रु एक अर्ब ७७ करोड, कनकाई नदीका लागि रु तीन अर्ब नौ करोड, बिरिङ नदीका लागि रु दुुई अर्ब ४६ करोड र मेची नदीका लागि रु पाँच अर्ब ५७ करोडको बहुवर्षीय कार्ययोजना स्वीकृत भइसकेको छ ।
जनताको तटबन्ध कार्यालयले हालसम्म नदीको दीर्घकालीन व्यवस्थापनका लागि सय किलोमिटर ढुङ्गे तथा माटोको बाँध निर्माण गरिसकेको छ । जलाधार क्षेत्र व्यवस्थापन, नदी किनारमा वृक्षरोपणसहित उपयुुक्त ढङ्गले खोलानालाको उचित व्यवस्थापन गर्नसके मात्र बाढीबाट हुने कटान र डुबान नियन्त्रण गर्न सकिने विज्ञहरु बताउँछन् । |
भारत पुगेर उपचार गराइरहेका क्यान्सर पीडित राईलाई १७ लाख जुट्यो खोटाङ। क्यान्सर भएपछि भारत पुगेर उपचार गराइरहेका खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तलेका चन्द्रकुमार राईलाई आर्थिक सहयोग जुटाइएको छ ।
क्यान्सर भएपछि विगत सात महिनादेखि नयाँदिल्लीस्थित राजीव गान्धी क्यान्सर ईन्स्टिच्युट एण्ड रिसर्च सेन्टर अस्पतालमा उपचार गराइरहेका राईलाई शुभेच्छुकको पहलमा १७ लाख एक हजार १६६ रुपैयाँ उपचार सहयोग जुटाइएको हो ।
आफ्नो गाउँठाउँको शिक्षा, स्वास्थ्य, खानेपानी, सिँचाइ, सोलार वितरण लगायतका क्षेत्रको विकासमा महत्वपूर्ण योगदान दिएका राईलाई क्यान्सर भएपछि सोही ठाउँका युवा अभियान्ता केदार आले मगरको नेतृत्वमा ‘क्यान्सरपिडित चन्द्रकुमार राई बचाऊ अभियान’ सञ्चालन गरिएको थियो । गाउँ ठाउँको परिवर्तनका लागि योगदान दिएका समाजसेवी राईको जीवन बचाउका लागि १५२ दाताबाट एक हजारदेखि तीन लाख ५० हजारसम्म सहयोग प्राप्त भएको अभियान्ता मगरले जानकारी दिए ।
क्यान्सर पीडित राईको उपचारका क्रममा हालसम्म १८ लाख खर्च भइसकेको छ । डाक्टरको परामर्श अनुसार औषधि सेवनमा मात्र उनको मासिक दुई लाख खर्च भइरहेको छ । सात महिना यता महंगो औषधि सेवन गरिरहेका कारण उपचारमा सहयोग पुर्याउनका लागि सहयोग संकलन अभियान सञ्चालन गरिएको अर्का अभियन्ता ईश्वर बन्जाराले बताए ।
विभिन्न अभियान्ताबाट संकलन भएको रकमको चेक बिहिबार ललितपुरमा आयोजित कार्यक्रममा खोटाङका प्रतिनिधिसभा सदस्य रामकुमार राईले क्यान्सर पीडित राईलाई हस्तान्तरण गरेका छन् । क्यान्सरसँग जुधिरहेका बेला सहयोग रकम जुटेको देख्दा रोगले गाँजे पनि ‘परोपकारी, निस्वार्थी र समाजसेवी व्यक्तिलाई शुभेच्छुकको साथ मिल्दोरहेछ’ भन्ने महसुस भएको राईले बताए ।
क्यान्सर पिडित राईले यसअघि साकुमा फ्रेण्डसीप ट्रष्टमार्फत गाउँमा २१ वटा सामाजिक काम गरेका थिए । |
लुम्बिनीबाट एसइईमा ८५ हजार परीक्षार्थी लुम्बिनी। आजदेखि सुरु भएको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा लुम्बिनी प्रदेशबाट ८५ हजार चार सय २४ परीक्षार्थी सहभागी भएका छन्।
नियमित साधारणतर्फ ८० हजार एक सय ६५, प्राविधिक धारतर्फ दुई हजार नौ सय ५७ र ग्रेडवृद्धितर्फ दुई हजार तीन सय दुई परीक्षार्थी सहभागी छन्। लुम्बिनी प्रदेश शिक्षा तथा सामाजिक विकास निर्देशनालयका अनुसार एसइईमा प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा बढी रुपन्देहीबाट १८ हजार सात सय ८३ तथा सबैभन्दा कम पूर्वी रुकुमबाट एक हजार ९८ परीक्षार्थी सहभागी छन्।
यस्तै दाङबाट १३ हजार चार सय ४८, बाँकेबाट आठ हजार आठ सय ८६, कपिलवस्तुबाट आठ हजार छ सय ९९, बर्दियाबाट सात हजार छ सय ८२, पश्चिम नवलपरासीबाट छ हजार ६२, पाल्पाबाट चार हजार पाँच सय ४६, गुल्मीबाट चार हजार सात सय २२, अर्घाखाँचीबाट तीन हजार दुई सय ७५, रोल्पाबाट चार हजार ५१ र प्यूठानबाट चार हजार एक सय ७२ परीक्षार्थी सहभागी भएको निर्देशनालयका सूचना अधिकारी माधव पोखरेलले जानकारी दिए।
परीक्षामा सहभागी सम्पूर्ण विद्यार्थीमध्ये नियमिततर्फको साधारणमा ८० हजार एक सय ६५, प्राविधिक धारतर्फ दुई हजार नौ सय ५७ र ग्रेड वृद्धितर्फ दुई हजार तीन सय दुई विद्यार्थी छन्। एसइई परीक्षालाई मर्यादित, अनुशासित, भयरहित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न प्रदेशका १२ वटै जिल्लामा तीन सय ३४ परीक्षा केन्द्रमा तीन सय ३४ केन्द्राध्यक्ष र पाँच सय ७७ सहायक केन्द्राध्यक्ष खटाइएको प्रदेश शिक्षा तथा सामाजिक विकास निर्देशनालयका निर्देशक यमबहादुर केसीले जानकारी दिए। |
२४ जना विद्यार्थीले एकैपटक प्रयोग गर्न मिल्ने उपकरण जडान भक्तपुर। नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरमा विद्युतीय उपकरण जडान तथा सुरक्षा प्रयोगशाला प्रारम्भ भएको छ।
पोखरा विश्वविद्यालयले हालै परिमार्जन गरेको पाठ्यक्रम बमोजिम विद्यार्थीलाई प्रयोगात्मक सीप दिन नयाँ प्रयोगशाला स्थापना भएको कलेजले जनाएको छ।
कलेजका प्राचार्य प्राडा हरिकृष्ण श्रेष्ठले एक पटकमा २४ जना विद्यार्थीले एकै पटक प्रयोग गर्न मिल्ने जनाए । यसका लागि आवस्यक सबै सामग्री कलेजले केही हप्ता अगाडि खरिद गरेको उनले बताए। |
६ दशकपछि भरतपुर विमानस्थल स्तरोन्नति र विस्तार गरिँदै चितवन। ६ दशकपछि भरतपुर विमानस्थलको स्तरोन्नति र विस्तार हुने भएको छ। भरतपुर महानगरपालिकाले नगरभित्रको गौरवको आयोजनाको रुपमा लिएको उक्त विमानस्थलको स्तरोन्नति र विस्तार गर्न लागिएको हो।
भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालका अनुसार तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी हुँदा सुरु गरिएको पहल कदमी मन्त्री सुदन किराँतीसम्म आइपुग्दा काम अघि बढ्ने अवस्थामा पुगेको छ। उनले भने, “यो पाँच वर्षको अवधिमा हामीले छ पर्यटन मन्त्रीसँग नियमित छलफल गर्यो। महानगर, प्राधिकरण, मन्त्रालय हुँदै प्रधानमन्त्रीको निजी निवास र कार्यालयमा धेरै पटक छलफल भएको छ।”
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निरन्तरको पहलले सार्थकता पाएको हो। पर्यटनमन्त्री अधिकारी हुँदा तत्कालिन समयमा चितवन क्षेत्र नम्बर ३ का सांसदसमेत रहनुभएका प्रधानमन्त्री दाहालसहित जिल्लाका सरोकारवालाको उपस्थितिमा बृहत् छलफल गरेर अभियानको थालनी गरिएको थियो। प्रमुख दाहालले भने, “झण्डै पाँच वर्ष फाइल बोकेर भरतपुर र काठमाडौँ ओहोर दोहोर गरे।”
विमानस्थलको धावनमार्ग विस्तारका लागि घोडा प्रजनन केन्द्रलाई गणेशस्थान र नेपाली सेनाको कालीबहादुर गणलाई दियालो बङ्गला सारिने भएको छ। ब्यारेक सार्ने निर्णय भइसकेको उल्लेख गर्दै उहाँले घोडा प्रजनन केन्द्र सार्न वनको जग्गा भएकाले केही निर्णय बाँकी रहेको बताए। बाँकी निर्णय दुई साताभित्रमा गरेर काम अघि बढ्ने छ।
केही दिनअघि विस्तारका लागि प्रधानमन्त्रीको निवास बालुवाटार र कार्यालय सिंहदरबारमा नेपाली सेनासहितको सरोकारवाला बसेर टुङ्गोमा पुगेको दाहालले जानकारी दिए। यो विमानस्थलबाट मकवानपुरदेखि दाउन्नेसम्मका बासिन्दाले हवाई सेवा लिँदै आएका छन्।
त्यस्तै तनहुँ र गोरखा आसपासका बासिन्दाले पनि यो विमानस्थलबाट सेवा लिँदै आएका छन्। विसं २०१५ देखि सञ्चालनमा आएको उक्त विमानस्थलमा २०१८ मङ्सिर १२ गते हवाई कार्यालय स्थापना गरिएको थियो। तत्कालीन समयमा टुइनेटरजस्ता १८ सिटे जहाजमात्रै सञ्चालन हुँदै आएकामा पछिल्ला वर्षमा एटिआर ४२, जेटस्टिम बिचक्राफ्टजस्ता मझौला र आधुनिक जहाजको उडान हुँदै आएको छ।
एक हजार दुई सय मिटरमात्र धावनमार्ग भएको तथा उडान र अवतरण क्षेत्रमा भौतिक संरचनाका कारण यो विमानस्थल जोखिमपूर्ण मानिएको छ। धावनमार्गलाई एक हजार पाँच सय मिटर लामो बनाएर एटिआर ७२ वा सोसरहका ७२ सिटे जहाजले उडान गर्न मिल्ने गरी विस्तार गर्न लागिएको हो।
यससँगै आधुनिक ट्रमिनल भवन बनाइँदै छ। रु एक अर्ब ९२ करोडको लागतमा निर्माण गर्न लागिएको अत्याधुनिक ट्रमिनल भवनको बिहीबार प्रधानमन्त्री दाहालले शिलान्यास गरेका छन्। छोटो धावनमार्ग, उडान र अवतरण क्षेत्र अतिक्रमण तथा उच्च जोखिमसँगै महँगो हवाई भाडा तिर्न यहाँका बासिन्दा बाध्य छन्। हाल यहाँबाट काठमाडौँ र पोखरा बुद्ध एयरले उडान भर्दै आएको छ। दैनिक आठ उडान हुँदै आएको छ। कोभिड–१९ अघिसम्म यो सङ्ख्या १२ रहेको विमानस्थलले जनाएको छ। दैनिक सात सयभन्दा बढी यात्रुले सेवा लिँदै आएका छन्।
सन् १९५८ मा निर्माण कार्य सम्पन्न भई पहिलो उडान सन् १९६१ मार्च ५ मा भएको तथ्याङ्क छ। सन् १९९४ मा एक हजार एक सय ५८ मिटर धावनमार्ग बनाइएको सो विमानस्थलको सन् १९९८ मा एसियाली विकास बैंकको सहयोगमा कालोपत्र सम्पन्न भएको नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धक प्रदीप अधिकारीले जानकारी दिए।
देशको मध्य भागमा पर्ने भएकाले सन् १९८८ मा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने उद्देश्यले अध्ययन गरिए पनि वातावरणीय र पर्यावरणीय दृष्टिकोणले क्षति हुनसक्ने भएपछि काम अघि बढ्न सकेको थिएन। विमानस्थल ५८ बिघामा फैलिएको छ। सन् १९५८ मा संयुक्त राज्य अमेरिकाको सहयोगमा मलेरिया नियन्त्रण कार्यक्रमअन्तर्गत यो विमानस्थल निर्माण गरिएको हो। अहिले विमानस्थल १० घण्टाको हाराहारीमा मात्र सञ्चालन हुँदै आएको छ। विस्तारसँगै रात्रिकालीन उडानसमेत गरिने छ।
भरतपुर विमानस्थलको समयसापेक्ष विकास र विस्तारमा ढिलाइ भएको अधिकारीले बताए। विमानस्थलको आवश्यकता, औचित्य र महत्वबारे आफैँले बुझेर हृदयङ्गम गर्ने नेतृत्वको अभाव हुँदा विस्तार र विकास हुन नसकेको उनको भनाइ छ। विमानस्थल विस्तारका लागि १९ बिघा नेपाली सेनाको लिनुपर्ने हुन्छ। यस क्षेत्रमा बाँकी रहेको जमिनमा नेपाली सेनाको हेङ्गर र उद्यान बनाइने बताइएको छ। |
खोटाङ उद्योग वाणिज्य संघ अध्यक्षमा राजनप्रसाद आचार्य विजयी खोटाङ। खोटाङ उद्योग वाणिज्य संघको अध्यक्षमा राजनप्रसाद आचार्य र महासचिवमा अजय बस्नेत निर्वाचित भएका छन्।
कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्रका उम्मेदवार समुन्द्रप्रसाद जोशीलाई १९६ मतले पछि पार्दै आचार्य वाणिज्य संघको अध्यक्षमा निर्वाचित भएका हुन्। बिहीबार राति सार्वजनिक अन्तिम मत परिणामअनुसार निकटतम प्रतिद्वन्द्वी जोशीले १३८ मत ल्याउँदा आचार्यले ३३४ मत ल्याएका छन्।
एकीकृत समाजवादीका जिल्ला सचिव रहेका आचार्य अन्य दलबाट टिकट नपाउँदा असन्तुष्ट व्यवसायीलाई समेटेर वाणिज्य संघको नयाँ नेतृत्वका लागि चुनावी मैदानमा उत्रिएका थिए।
महासचिवमा प्रतिस्पर्धी सुमन श्रेष्ठलाई २१८ मतले पछि पार्दै बस्नेत विजयी भएका हुन्। बस्नेतले ३४१ मत ल्याउँदा श्रेष्ठले १२३ मत ल्याएका छन्। कोषाध्यक्षमा भने तीन दलीय गठबन्धनका युधिर शाक्य निर्वाचित भएका छन् । शाक्यले २६० मत पाउँदा प्रतिष्पर्धी नेत्र कट्वालले १८९ मत पाएको निर्वाचन समितिले जनाएको छ ।
जोशीको प्यानलबाट कुमार बजिमय (३७१), कृष्णकुमार श्रेष्ठ (मणि) (२७८), टंकप्रसाद आचार्य (३०३), रोशन शैंजु (३१३), विपिन श्रेष्ठ (२७७) र हिरालाल पुरी (२७२) बाणिज्य संघको सदस्यमा निर्वाचित भएका छन्।
आचार्यको प्यानलबाट कैलाश भट्टराई (२५२) मात्र बिजयी भएका छन्। वाणिज्य संघको ६७१ मतदातामध्ये ४८० मात्रै खसेको थियो । तीन दलीय गठबन्धनकाबीच आचार्य र बस्नेतको प्यानललाई कतिपय एमाले नेताकै समर्थन मिलेको थियो ।
सात जना निर्विरोध
वाणिज्य संघको पदाधिकारी सहित १७ जनामध्ये सात जना निर्विरोध निर्वाचित भइसकेका छन्। बरिष्ठ उपाध्यक्षमा मनोजकुमार बजिमय, प्रथम उपाध्यक्षमा विजयश्वर श्रेष्ठ, द्धितीय उपाध्यक्षमा मणिशोभा राई, सचिवमा लेखबहादुर खड्का, महिला सदस्यमा गोपीमायाँ आचार्य, महिला सदस्य रेनुका पोखरेल र विमला राई निर्विरोध भएका हुन्। |
कोरोना जोखिम बढेपछि भारतबाट फर्किने निगरानीमा, सीमामा कडाइ बैतडी। भारतबाट स्वदेश फर्किने नेपाली नागरिकमा कोरोना सङ्क्रमण देखा पर्न थालेपछि सुदूरपश्चिमका नाकामा कडाइ गरिएको छ।
कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सीमा नाकामा कडाइ गरिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए।
यहाँका भारतसँग जोडिएका सीमा नाकामा परीक्षण गर्दा स्वदेश फर्किएकामा सङ्क्रमण देखिन थालेपछि स्वास्थ्य परीक्षणमा कडाइ गरिएको हो। भारतमा सङ्क्रमण तीव्ररूपमा फैलिरहेकाले यहाँका नाकामा स्वास्थ्य जाँचमा कडाइ गरिएको जोशीको भनाइ छ। चैत महिनायता मात्रै यस प्रदेशमा भारतबाट फर्किएका ५८ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ।
भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका झुलाघाट, पुलघाट, जौलजिवी, गड्डाचौकी र त्रिनगर नाकामा परीक्षण जारी रहेको कोभिड-१९ सम्पर्क व्यक्ति जोशीले बताए।
सुदूरपश्चिमका यी सबै नाकामा नियमित कोरोना परीक्षण कार्य जारी रहेको छ। उनले भने, “भारतबाट फर्किने अधिकांशमा सङ्क्रमण देखिन थालेपछि नाकामा थप कडाइ गरेका हौँ।”
सीमा नाकामा परीक्षण गर्दा दैनिकरूपमा कोरोना सङ्क्रमण देखिरहेको समुदायस्तरमा पनि यसको जोखिम बढेको छ। भारतमा सङ्क्रमण देखिएका सहरसित दूरीका हिसाबले यो प्रदेश नजिक भएकाले उच्च जोखिम रहेको र सतर्कता अपनाउन आवश्यक छ।
उनले भने, “भारतबाट फर्किनेमा कोरोना देखिन थालेपछि जोखिम बढ्दै गएको छ, त्यसको रोकथाम र नियन्त्रणका सीमाक्षेत्रमै परीक्षणमा कडाइ गरेका छौँ।”
नाकामा हेल्थडेस्क स्थापना गरेर एन्टिजेन परीक्षणको व्यवस्था गरिएको छ। नयाँ वर्ष नजिक आइरहेका बेला यहाँका सबै नाकामा स्वदेश फर्किनेको क्रम पनि बढेको छ।
स्वदेश फर्किनेको सङ्ख्या बढिरहेकाले जोखिम बढेकाले सीमामै परीक्षणपछि मात्रै आउन दिइएको जोशीले बताए। उनले भने, “भारतमा दिनप्रतिदिन सङ्क्रमण फैलिरहेकाले सुदूरपश्चिम पनि जोखिममा छ। सीमामा स्वास्थ्य परीक्षण गरेरमात्रै भित्रिन दिएका छौँ।”
सङ्क्रमितलाई सम्बन्धित पालिकाको समन्वयमा होमआइसोलेसनमा बस्न भन्ने गरिएको छ। जोखिम बढेसँगै सीमा नाकामा स्वास्थ्य जाँचमा कडाइ गर्नुका साथै खोप अभियानलाई पनि निरन्तरता दिइएको जोशीको भनाइ छ। प्रदेशभरि नै हाल ५५ वर्षमाथिका सबैलाई बुस्टर डोज लगाउने क्रम जारी रहेको निर्देशनालयले जनाएको छ।
जोखिम बढेपछि सीमा नाकाबाट स्वदेश फर्कनेलाई परीक्षणसँगै अनिवार्य मास्क लगाएरमात्रै भित्रिन दिने नियम बनाइएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए।
सुदूरपश्चिम प्रदेशमा हालसम्म छ लाख ४४ हजार चार सय ५४ जनाको कोरोना परीक्षण गरिएकामा ६१ हजार नौ सय २७ जनामा सङ्क्रमण भइसकेको छ। सङ्क्रमणकै कारण यस प्रदेशमा छ सय ३५ जनाको ज्यान गइसकेको छ।
पछिल्लो समयमा कोरोना सङ्क्रमण दर बढ्दै गएपछि स्वास्थ्यका मापदण्ड अपनाउनसमेत आग्रह गरिएको छ । कोरोनाबाट बच्नका लागि जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न आग्रह गरिएको निर्देशनालयले जनाएको छ। रासस |
मेची राजमार्गमा सधैँ जमिन भासिने र पहिरो खस्ने समस्या पाँचथर। जमिन भासिने र पहिरो झरिरहने समस्याले पूर्वी नेपालका चार जिल्लालाई जोड्ने मेची राजमार्गमा निरन्तर बाधा हुने गरेको छ।
दुई सय ६८ किलोमिटरको राजमार्गका दर्जनौँ स्थानमा जमिन नअडिने समस्याका कारण विशेषतः बर्खायाममा समस्या हुने गरेको छ। इलामको माई खोला क्षेत्र तथा पाँचथरको पाङ्ग्रेभीर र भारपा घ्यापेमा जमिन नअडिने समस्या राजमार्गका लागि चुनौतिपूर्ण बनेको सडक डिभिजन कार्यालय इलामका प्रमुख विदुर पोखरेलेको भनाइ छ।
जमिन भासिने र पहिरो झर्ने समस्याको दीर्घकालीन समाधान तय हुन नसक्दा समस्या परेको उनले बताए। जमिन भासिने र पहिरो झर्ने स्थानमा सधैँ धुलो र हिलोको समस्याले सताउने गरेको छ।
जमिन निरन्तर भासिने ठूलो क्षेत्र रहेको इलामको माई खोलामाथिका तीन स्थानमा सडक डिभिजन कार्यालय इलामले आर्थिक वर्ष २०७१÷०७२ मा ‘रक एन्करिङ’ प्रविधिबाट सडक अड्याउने प्रयास गरेको थियो।
रु छ करोडको लागतमा उक्त प्रविधिबाट सडक अड्याउने प्रयास गरिए पनि सो उपायले एक वर्षसम्म समेत काम नगरेको स्थानीयवासीको भनाइ छ। भिरालो बाटो निरन्तर भासिने हुनाले यहाँको यात्रा चुनौतिपूर्ण हुने गरेको छ।
इलाममा माइखोला–भञ्ज्याङको छ किलोमिटर सडक निरन्तर भासिने गरेको छ। यस स्थानमा १० वर्षमा करीब तीन मिटर सडक भासिएको पाइएको छ। यो स्थान जोखिमपूर्ण देखिएपछि खुदुनाबारी–दानाबारी–राकसे–बेलासे–भञ्ज्याङ सडक वैकल्पिक मार्गका रूपमा उपयोग गर्न सकिने बनेको छ, धेरैले उक्त सडकको स्तरोन्नति गर्नुपर्नेमा जोड दिएका छन्।
पाँचथरको हिलिहाङ गाउँपालिका वडा–७ भारपाको घ्यापेमा माइखोलामा जस्तै मेची राजमार्गको सडक भासिने समस्या छ। स्थानीयवासी राजेन्द्रप्रसाद काफ्लेका अनुसार यहाँ राजमार्ग विस्तार हुनुअघि नै जमिन भित्रबाटै सर्ने गर्थ्यो। सर्ने जमिनमै बाटो बनेपछि सडक नअडिएको काफ्लेको भनाइ छ। “सडक भन्दामुनि जमिनमा ठूलो भास छ। बर्सेनि माथिबाट जमिन सर्दै जाँदा सडक भासिन्छ”, उनले भने, “घ्यापे दीर्घकालीन समस्या बनेको छ।”
यस स्थानमा २०४२ सालमा सडक विस्तार भई २०४३ सालदेखि सवारी साधन चल्न थालेका थिए। सडकको माथिल्लो भागमा पाइप लगाई पानी नालीमा झारेर सडक अड्याउने प्रयास गरिए पनि सफल हुन सकेको छैन। उक्त स्थानको विकल्पका लागि गोलेडाँडा घुम्तीबाट सल्लरी जोड्ने वैकल्पिक बाटो निर्माण भएको छ।
यस्तै वैकल्पिक सडककै लागि मझौले घुम्ती–चिवाडाँडा हुँदै मानेडाँडा जोड्ने बाटोको ट्र्याक पनि बनेको काफ्लेको भनाइ छ। “यी दुवै सडक मर्मत सम्भार गरे चलाउन सकिन्छ”, उनले भने।
पाँचथरको फाल्गुनन्द गाउँपालिका–३ पाङ्ग्रेभीर क्षेत्रमा सडक मर्मत गरिरहेका निर्माण व्यवसायीले सडक भित्तामा रहेको चट्टान कटान गराएपछि पहिरो झर्न थाल्यो।
व्यवसायीले आफूखुशी ढुङ्गा उत्खनन गर्दा झरेको पहिरोका कारण चार वर्षअघि एक साता राजमार्ग नै अवरुद्ध बनेको थियो। एक साताको प्रयासमा पहिरो पन्छाएर सडक सुचारु त भयो, तर दीर्घकालीन समस्या निम्तियो।
पाङ्ग्रेभीरमा सडकमाथिको ठूलो भाग लच्किएर झरेको छ। तर लच्किएको सबै जमिन पहिरो बनेर बगेको छैन। वर्षा हुनासाथ ढुङ्गामाटो सडकमा झर्ने गर्दछ। सडक डिभिजन कार्यालय इलामले कङ्क्रिट पर्खाल लगाएर पहिरो रोक्न खोजे पनि ठूलो भाग लच्किएकाले पहिरो सडकमा झर्ने गरेको छ।
पाङ्ग्रेभीरको पहिरो दीर्घकालीन समस्या बन्ने देखिएपछि सो समय फाल्गुनन्द गाउँपालिका र प्रदेश सरकारको लगानीमा गुम्बाडाँडा–निबुखोला–राँकेबजार वैकल्पिक सडक निर्माण थालिएको थियो।
उक्त सडकको ट्र्याक खोल्ने काम सकिएपछि स्तरोन्नतिमा कुनै निकायले ध्यान दिएनन्। त्यसैले यो सडकमा सवारी सञ्चालन हुन सक्दैनन्। पहिरो झरेर पाङ्ग्रेभीर अवरुद्ध बने राजमार्ग नै ठप्प हुने अवस्था रहेको सडक डिभिजन कार्यालय इलामका प्रमुख पोखरेलको भनाइ छ। “यी समस्याबारे सरोकारवालाले गम्भीरतापूर्वक ध्यान दिनुपर्ने आवश्यकता छ”, उनले भने।
मेची राजमार्ग विसं २०२९ मा खाद्यान्न अनुदानमा निर्माण सुरु भएको थियो। विसं २०३३ देखि भने सरकारी बजेटमै सडक निर्माण हुन थाल्यो। ताप्लेजुङ, पाँचथर र इलामको ‘लाइफलाइन’का रूपमा रहेको सडक अहिले निकै व्यस्त हुने गरेको छ। यहाँ यात्रुवाहक सवारीका साधनको चाप दैनिकरूपमा बढिरहेको छ।
यातायातको सुगमतापछि ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा धाम दर्शन गर्न दैनिक हजारौँको सङ्ख्याका तीर्थयात्रीले यो सडक प्रयोग गर्ने गर्दछन्। यस्तै खाद्यान्न, मालसामानलगायत सामग्रीको ढुवानी तथा स्थानीय कृषि उपजहरूको निकासीमा समेत यो राजमार्ग महत्त्वपूर्ण रहेको छ।
यद्यपि जमिन नअडिने समस्याले राजमार्गमा प्रायः हैरानी बेहोर्नुपर्ने अवस्था छ। झापाको चारआलीदेखि ताप्लेजुङको फुङलिङसम्म सडकका रहेका सयौँ खाल्डाखुल्डी र अवरोधले यात्रुलाई समस्या हुने गरेको छ।
राजमार्गमा निरन्तर बाधा उत्पन्न हुने भएपछि विकल्पका रूपमा निर्माणाधीन तमोर कोरिडोर सडको प्रयोग हुन थालेको छ। यद्यपि यस कोरिडोरले मेची राजमार्गजस्तै ठूलो जनघनत्वलाई समेट्न सक्ने अवस्था नहुनाले मेची राजमार्ग विकल्पविहीन सडक बनेको छ।
– रवीन्द्र काफ्ले\रासस |
यसरी निर्माण हुँदैछ जनकपुरमा बहुउद्देश्यीय रङ्गशाला जनकपुरधाम। जनविद्रोहको यात्रा पार गर्दै मधेश तत्कालीन संविधानसभाको चुनावमा समाहित हुँदै थियो। यहाँका माग र मुद्दालाई स्थापित गर्न नागरिकलाई आन्दोलनमा सङ्गठित गर्दै अझ बढी ‘मधेश मोह’ जगाउँदै थियो, तत्कालीन मधेशी जनअधिकार फोरम नेपालले। त्यही फोरममा संगठित थिए मिथिलाबिहारी–१०, ठेरा धनुषाका दिनेश पूर्वे।
जिल्लामा ‘कमाण्ड’ सम्हाल्नेमध्येका एक थिए पूर्वे। उनले नागरिकका निराशालाई आशामा बदल्ने सपना देखाउँदै थिए। तर उनको आफ्नै राजनीतिक सपना भने विसं २०६४ को संविधानसभा निर्वाचनभन्दा पर पुगेन्। जब फोरम राजनीतिक पार्टीका रूपमा स्थापित भइ चुनावमा होमियो। जिल्लामा संविधानसभा सदस्यका लागि पार्टीले दिएको टिकटबाट असन्तुष्ट भएका पूर्वेको राजनीतिक सपना करिब टुङ्गियो।
त्यही विन्दुबाट अर्को सपनाको जन्म भयो। त्यो सपना थियो, माता सीता र भगवान रामको वैवाहिक सांस्कृतिक सम्बन्धलाई खेल पर्यटनको माध्यमबाट विश्वस्तरमा ‘ब्राण्डिङ’ गर्न जनकपुरधाममा बहुउद्देश्यीय रङ्गशाला निर्माण गर्ने।
“विसं २०६४ को संविधानसभा निर्वाचनपछि राजनीतिका लागि म होइन भन्ने अनुभूति भयो तर चुप लागेर बस्न त भएन। राजनीतिको सपना देख्न छोडे पनि माता जानकीको पवित्र भूमिलाई विश्व खेल पर्यटनको ‘हब’ बनाउन सकिन्छ भन्ने लाग्यो। माता सीता र भगवान रामको सम्बन्ध नै अन्तर्राष्ट्रिय खेलबाटै स्थापित भएकाले जनकपुरलाई विश्व वैवाहिक सांस्कृतिक सङ्ग्रहालयका रूपमा चिनाउछु भनेर मैले सपना देख्न थालेको हुँ”, पूर्वे भने।
उनले देखेका सपना जनस्तरका साथै सरकारकामन्त्री एवं सरोकारवालासँग पनि बाँड्न थाले। यही क्रममा विसं २०६६ असार ३ गते उनले तत्कालीन सरकारका युवा तथा खेलकुद मन्त्रीलाई रङ्गशाला निर्माणका लागि बजेट छुट्याउन औपचारिक निवेदन दिए।
“सरकारले नयाँ बजेट तथा कार्यक्रम बनाउँदै थियो, त्यही मौका पारेर प्राचीन ऐतिहासिक जनकपुर क्षेत्रमा खेलकुद विकासका लागि रङ्गशाला निर्माण गर्न बजेट विनियोजन गरिदिन आग्रह गरेँ”, उनले स्मरण गरे, “मन्त्रिस्तरीय निर्णयबाट अर्थ मन्त्रालयलाई असार २४ गते आर्थिक वर्षको बजेटमा रकम विनियोजनका लागि पत्र लेखेको बोधार्थ पाएँ। त्यसपछि त मेरो खुसीको सीमा रहेन। थप हिम्मत बढ्यो।”
सपनाको उडान
सुरुमा एक्लै देख्न थालेको सपनाको सारथी थपिँदै गए। विसं २०७० सम्म सहानुभूति र समर्थन बटुल्न करिब एक्लैजस्तै भएका पूर्वेले विसं २०७१ वैशाखमा रङ्गशालाका लागि आवश्यक जग्गा जुटाउन स्थानीय राजनीतिककर्मीको समर्थन पाए।
त्यही अभियानअन्तर्गत विसं २०७२ वैशाख १२ मा सर्वपक्षीय सर्वदलीय बैठक बस्यो र रङ्गशाला निर्माणका लागि गुठी संस्थानको जग्गा भाडामा लिन अनुरोध गर्यो। वैशाख १२ को भूकम्पले देश लडखडायो तर पूर्वेको सपनाले भने त्यही विन्दुबाट नयाँ उडान भर्यो।
यसको परिणाम विसं २०७४ मङ्सिर ३ गते जनकपुरधाम–१४ स्थित गुठी संस्थानको जग्गा ३० वर्षका लागि वार्षिक रू नौ लाखमा भाडा तिर्ने गरी सम्झौता भयो। गुठी संस्थान र राष्ट्रिय खेलकुद परिषद्बीच भएको सम्झौताको दोस्रो पक्ष अर्थात भाडामा लिने पक्षको साक्षीश्रीराम जानकी खेलकूद विकास संस्थाको अध्यक्षका रूपमा पूर्वेले हस्ताक्षर गरे।
विसं २०७० सम्म पुग्दा उनले सरकार, राजनीतिक दल, सामाजिक अगुवा, खेलप्रेमी र आम सरोकारवालालाई सपनाको सहयात्री बनाउँदै गए। सर्वदलीय सहमतिपछि विसं २०७४ को शुभारम्भमा श्रीराम जानकी खेलकुद विकास संस्थाको स्थापना भयो।
विसं २०७४ जेठ २ गते तत्कालीन युवा तथा खेलकुदमन्त्री दलजित श्रीपालीको मन्त्रिस्तरीय निर्णयबाट रङ्गशालाको नाम, सोही वर्षको मङ्सिर ३ मा जग्गा प्राप्तिका लागि गुठी संस्थानसँग सम्झौतालगायत सफलता थपिँदै गए। “विसं २०६६ सालमा औपचारिक रूपमा बजेट छुट्याउने प्रक्रिया सुरु भयो तर रङ्गशालाले नाम र ठाउँ निश्चित नहुँदासम्म वार्षिक बजेट विनियोजन हुने र फ्रिज हुने क्रम जारी रह्यो।
“त्यस अविधिमा रू दुई करोड बजेट छुट्याइयो तर कार्यान्वयन भएन”, उनले भने,“विसं २०७४ मङ्सिर ३ मा वार्षिक रू नौ लाख भाडा तिर्ने गरी जग्गा लिएपछि बजेट थपिँदै गएपनि काम हुनसकेन। तर मेरो सपनाले आकार ग्रहण गरिसकेकाले म खुसी थिए र सक्रिय हुँदै गए।”
उनका अनुसार रङ्गशाला निर्माणका लागि सङ्घ र प्रदेश सरकारबाट पटक-पटक गरी रू दश करोडभन्दा बढी बजेट विनियोजन गरिएको छ। सङ्घअन्तर्गत आर्थिक वर्ष २०७५/७६ मा रू दुई करोड ५० लाख, २०७६/७७ मा रू पाँच करोड, २०७७/७८ मा रू एक करोड, २०७८/७९ मा रू एक करोड र २०७९/८० मा रू १० लाख विनियोजन गरिएको छ।
सो रकममध्ये आव २०७५/७६ मा रङ्गशालाको तीन सय मिटर घेरा पर्खाल, कार्यालय तथा सुरक्षाकर्मी बस्ने घर, प्रवेशद्वार निर्माण र जग्गा भाडावापत गुठी संस्थानलाई तिर्ने रकमसहित रू एक करोड मात्रै खर्च गरिएको थियो।
आर्थिक वर्षको बजेट भाडा तिर्नेबाहेक विनियोजित रकम पूर्वाधार निर्माणमा खर्चै नगरी फ्रिज जाने गरेको पूर्वेले बताए। त्यसैगरी प्रदेश सरकारले आर्थिक वर्ष २०७५/०७६ मा रू २० लाख, २०७६/७७ मा रू २० लाख, २०७७/७८ मा रू २० लाख छुट्याएको थियो भने र चालु आर्थिक वर्ष २०७९/७० मा रू ५० लाख विनियोजन गरिएको छ।
महत्वकांक्षी योजनाः छ अर्ब बढी लागत
सरकारले आव २०७५/७६ को बजेट तथा कार्यक्रममार्फत सात वटै प्रदेशमा एक–एक बहुउद्देश्यीय रङ्गशाला बनाउने नीति लियो। श्रीराम जानकी प्रादेशिक रङ्गशाला बनाउने भनेर बजेट विनियोजन हुन पनि प्रादेशिक रङ्गशाला वीरगञ्जमा कि जनकपुरमा भन्ने विवाद सुरु भयो। “जनकपुरमा रङ्गशाला बनाउने भनेर काम सुरु भइसकेको थियो। संरचना निर्माणका लागि बोलपत्र आह्वान भएको बेला तत्कालीन मध्यमाञ्चल क्षेत्रीय खेलकूद विकास समिति, वीरगञ्जको नाममा विसं २०७५ पुस ६ मा राष्ट्रिय खेलकुद परिषद्लाई सो कार्य रोक्नका लागि निवेदन दिइयो”, पूर्वेले सुनाए,“जबकी प्रादेशिक रङ्गशाला जनकपुरमै बन्ने भनेर सरकारको बजेटमा नामसहित आइसकेको थियो।”
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विसं २०७५ वैशाख २८ मा भएको भ्रमणका बेला पनि रङ्गशाला निर्माणका सन्दर्भमा कुरा उठाउन युवा तथा खेलकुद मन्त्रालयले पत्राचार गरिएको थियो। “रङ्गशाला निर्माण रोक्ने प्रयास भयो ।भाडामा लिएको जग्गामा रङ्गशाला बनाउन मिल्दैन भनेर विवाद भयो। रङ्गशाला बनाउने नाममा निकै सस्तोमा जग्गा दिएको भन्दै गुठीका कर्मचारीमाथि नै अख्तियारमा मुद्दा हालियो तर अन्तिममा आफूहरुकै जित भयो”, पूर्वेले भने।
अहिले कुनै विवाद छैन। रङ्गशाला निर्माण हुनुपर्छ भन्नेमा सबैको एकमत भए पनि सरकारले ठूलो धनरासी खर्च गरेर रङ्गशालाबनाउने अवस्था नभएको उनको भनाइ छ। रङ्गशाला बनाउने सपना पूरा गर्नयुवा तथा खेलकूद मन्त्रालयले विसं २०६६ सालमा रू छ अर्ब १९ करोड १८ लाख छ हजार पाँच सय १२ लाग्ने अनुमान गरेको थियो। उक्त रकम नेपाल एक्लैले लगानी गर्न नसकिने स्पष्ट गरिसकेको पूर्वेको भनाइ छ।
“जसरी प्रेमको प्रतिक ताज महल भएजस्तै विवाह र सामाजिक सांस्कृतिक सम्बन्धको प्रतिकका रूपमा जनकपुरलाई विकास गर्न सकिन्छ। बहुउद्देश्यीय रङ्गशालामा अन्तर्राष्ट्रिय खेल प्रतियोगिता हुन्छन् ।यहाँ वैवाहिक सांस्कृतिक सम्बन्धलाई झल्काउने गरी सांस्कृतिक सङ्ग्रहालय निर्माण गरी विश्वसमुदायलाई लोभ्याउन सकिन्छ।
सार्वजनिक साझेदारीअन्तर्गत कम्तीमा नेपालसँग कूटनीतिकसम्बन्ध स्थापित भएका देश र सहमत हुने बाँकी देशहरुको अनुदान रकम लगानी हुने वातावरण बनाउन सकिन्छ। यस कार्यमा प्रदेश र सङ्घीय सरकारको पहलकदमी जरुरी छ”, पूर्वेले योजना सुनाए।
यसैका लागि अहिले पूर्वेले विस्तृत योजना, डिजायन र प्रस्ताव लेखन गरी छिमेकी देश भारतसँग सहयोग जुटाउन प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्री कहाँ धाइरहेका छन्। अब ‘श्री सीताराम विवाहभूमि जनकपुरधाम ट्रष्ट’ बनाएर अगाडि बढे रङ्गशाला निर्माण अभियानले थप गति पाउने उनको विश्वास छ। |
‘विदेश पनि जान्न, जागिर पनि खान्न’ भन्ने कार्की तरकारी खेतीबाट वार्षिक १२ लाख आम्दानी गर्दै म्याग्दी । म्याग्दीको पर्यटकीयस्थल लभ्लीहिलको पुछारमा चारतले पक्की घर छ । सदरमुकाम बेनीको मङ्गलाघाटमा घर र घडेरी । सत्ताइस रोपनीभन्दा बढी खेतबारी अनि त्यही खेतबारीमा तरकारी नै तरकारी । पोखरीमा माछा, खोरमा बाख्रा र लभ्लीहिल नजिकै किराना पसल बेनी नगरपालिका–२ खबरास्थित लभ्लीहिलका ५९ वर्षीय चन्द्रबहादुर कार्कीले तरकारी खेतीबाट आर्जेको सम्पत्ति हो यो ।
चालिस वर्ष पहिले ‘विदेश पनि जान्न, जागिर पनि खान्न’ भन्ने अडानका साथ विसं २०३४ सालमा रू एक हजार लगानी गरी कृषि पेसा सुरु गरेका उनले अहिले रू तीन करोडभन्दा बढी सम्पत्ति आर्जन गरिसकेका छन् । सँगैका साथी अहिले कृषि वैज्ञानिक, वरिष्ठ कृषि विकास अधिकृतलगयात निजामती सेवाको उच्च तहमा पुगे पनि कार्कीको प्रगति देखेर उनीहरु आश्चर्यमा पर्ने गरेका छन् ।
अठार वर्षको उमेरदेखि नै कृषि पेसा गर्दै आएका उनी अहिले जिल्लाका नमुना किसान र कृषि पेसाबाट नै सामाजिक सेवामा सक्रिय व्यक्तिका रुपमा चिनिन्छन् । कार्कीले १८ रोपनी जग्गामा मौसमी तथा बेमौसमी तरकारी खेती गरेका छन् । उनी जिल्लामा मिश्रित खेती गर्ने पहिलो किसान हुन्।
कार्कीको खेतबारीमा बाह्रैमास आलु, बन्दा, काउली, गोलभेँडा, साग, ब्रोकाउली, धनियाँ, लसुन, प्याज, खुर्सानीलगायत तरकारी र केरा, सुन्तला, कागती, अम्बालगायत फलफूल देखिन्छन् । गोठमा भैँसी, बाख्रा, घर वरपर राखेका मौरीका घारमा मौरी र माछा पालनबाट पनि उनले मनग्गे आम्दानी गर्दै आएका छन्। ।
“मैले १८ वर्षको उमेरदेखि तरकारी खेती सुरु गरेको हुँ,” कार्की भन्छन्, “त्यतिबेला मलाई जागिर खान वा विदेश जानका लागि धेरै आग्रह गरिएका थिए, तर मैले जागिर पनि नखाने र विदेश पनि नजाने अड्डी लिएर कृषि पेसा सुरु गरेँ । रू एक हजार लगानीबाट सुरु गरेको व्यावसायिक तरकारी खेतीबाट वार्षिक रू १२ लाखभन्दा बढी कमाइ हुने गरेको छ ।”
“तरकारी बिक्रीबाट आएको आम्दानीले बेनी बजारको मङ्गलाघाटमा घडेरी किनेर घरसमेत बनाएको छु । लभ्लीहिलमा चारतले पक्की घर हालै निर्माण गरेको हुँ”, उनी न्छन्, “माछा, कुखुरा र घरभाडाबाट हुने आम्दानी तथा पसलबाट हुने फाइदा मेरा आम्दानीकमा स्रोत हुन् ।”
माटोसँग खेल्दा र पसिना चुहाउँदा निकै आनन्दको अनुभूति हुन्छ । यही माटोमा गरेको परिश्रमले यहाँसम्म ल्याइपु¥याएको हो । यिनै पसिना विदेशी भूमिमा खर्च गरेको भए न यत्तिको कमाउन सक्थेँ, न आत्मसन्तुष्टि नै मिल्ने उनको भनाइ छ ।
खबराको पिपलडाँडाको तल्लोपट्टि पर्यटकीयस्थल लब्लीहिलको नजिकै रहेको उनको खेतबारी कृषिको प्रयोगशालाजस्तो देखिने स्थानीय तेजेन्द्रबहादुर कार्की बताउँछन् । सधैँभरि तरकारी र फलफूलले हरियाली देखिने कार्कीको नर्सरी, तरकारी खेती र केराबारी हेर्नका लागि यहाँ पुगेका आन्तरिक तथा बाह्य पर्यटक उहाँको घरसम्म पुग्ने गरेका छन् । |
पाटेबाघले मार्यो आधा दर्जन पशुचौपाया वीरगञ्ज। पर्सा राष्ट्रिय निकुञ्जबाट निस्केको पाटेबाघले पर्साको ठोरीमा आधा दर्जन पशुचौपाया मारेको छ।
निकुञ्जबाट गएराति आएको बाघले ठोरी गाउँपालिका–४ मानाचोकस्थित नवीन तामाङको गोठमा रहेका पाँच वटा ब्राखा र दुई वटा खसी गरी सात वटा पशुचौपाया मारेको स्थानीय तथा कुसुम बाटिका मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बुद्ध पाख्रीनले जानकारी दिए।
पाटेबाघले खसीबाख्रा मारेको स्थानीयले निकुञ्ज प्रशासनलाई जानकारी गराएपछि बिहान नेपाली सेनाको टोलीले बाघलाई धपाएको थियो। यसअघि गत चैत ७ मा निकुञ्जबाट निस्केको पाटेबाघले ठोरी गाउँपालिकास्थित मिक्सर लामाको गोठमा छ वटा बाख्रा र एउटा भैँसी मारेको थियो। |
तुलसीपुर उपमहानगरबाट बजेट माग्ने तर काम गर्न नदिने प्रवृत्ति बढ्दै दाङ । तुलसीपुर उपमहानगरपालिका बाट बजेट माग्ने तर विकास गर्दा विवाद गर्ने प्रवृति बढ्दै गएको छ । पहिले विकासका लागि बजेट माग्ने र पछि बजेट परेपछि विकास गर्न नदिने प्रवृति बढेको तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले बताइन्।
“पहिले बजेट चाहियो भन्नुहुन्छ, हामीले बजेट हाल्दिन्छौँ”,उनले भनिन्,“बजेट परेपछि कसैले जग्गा दिदैँनौँ भन्नुहुन्छ, कसैले केही भन्नुहुन्छ, अनि विकास रोकिन्छ ।” पछिल्लो समय उपमहानगरपालिकाको न्यायिक समितिमा यस्ता धेरै विवाद आउने गरेको उनको भनाइ छ ।
दैनिक चार÷पाँचवटा यस्ता मुद्दा आउने गरेको उहाँको भनाइ छ ।“आजभोलि दिनदिनै यस्ता केश हामीकाहाँ आउने गरेका छन्”,उनले भनिन्“दैनिक ४÷५ वटा केशहरु मिलाएर पठाउने गरेका छौँ ।” विकासमा कोही पनि बाधक हुन नहुँने उनको भनाइ छ । स्थानीयले सहयोग नगर्दा धेरै ठाउँमा सडक बीचमा रुख हुने, पोल हुने जस्ता समस्याहरु रहेका छन् । |
बादी समुदाय भन्दछन् : व्यवस्था बदलिए, अवस्था बदलिएन कञ्चनपुर। कृष्णपुर नगरपालिका–२ गुन्यालफाँटाका कित्थे बादी पहिला विवाहमा नाचेर पाएको बक्सीसबाट घरधन्दा चलाउँथे। हाल उनको दिनचर्या फेरिएको छ। पहिला जस्तो उनले नाचगान गर्नुहुन्न। परिवारको खर्च धान्न उनले कृषि मजदुरी गर्छन्।
“विवाह, ब्रतबन्ध, न्वारनलगायतमा बादी समुदायका नृत्यकलाई बोलाइने गरिन्थ्यो’ उनले भने, “खुबै नाच्थ्यौँ, मादलको तालमा नाच्ने बादी नृत्यक मात्रै हुन्थे, हाल समय फेरियो, विवाहमा बेहुलासँगै उनका आमाबुवासम्म बैण्डबाजाको तालमा नाच्छन्।”
बादी समुदायलाई बोलाउनै छाडिएपछि परम्परात पेसा ओझेलमा परेको उनले बताए। बादी समुदायले मादल, सारङ्गी, तबला, हारमोनियम बजाउने काम पुर्खौंदेखि गर्दै आएका हुन्। हाल परम्परागत बाजा बनाउने काम युवापुस्ताले विर्षंदै गएका छन्। परम्परागत बाजा बनाउने सीपलाई आधुनिक बनाइनुपर्ने काले बादी बताउँछन्। “हाल पेसा व्यवसायसँगै जग्गा जमिन नहुँदा दुई छाक खाना जुटाउनै मुश्किल छ”, उनले भने, “बाजा बजाउने सीपलाई आधुनिक बनाई व्यावसायिक बनाइनुपर्छ।”
बादी समुदायका युवा परम्परागत पेसाबाट जीविका नचलेपछि घरमै ताल लगाएर परिवारसहित भारतमा मजदुरी गर्न जाने गरेका छन्। बादी समुदायको पुख्र्यौंली पेसाका रुपमा नाचगान गर्ने, माछा मार्ने, माटोका घैँटा, सुल्पा, चिलिम बनाएर गाउँगाउँमा अन्नसँग साटेर जीविका चलाउने गरेका थिए। हाल माटोबाट बनेका सामानको विकल्पका रुपमा अरु सामान सहजरुपमा पाउन थालिएपछि बादी समुदायले बनाउने समानको महत्व घट्दै गएको छ।
“बादी समुदायले आफैँ गीतको रचना गरी मादलसँगै सारङ्गी रेटेर गीत गाउने चलन पुरानै हो”, दुरा कुमालले भने,“यस पेसालाई व्यावसायिक बनाउनुपर्दथ्यो, बादी समुदायलाई प्रोत्साहित गरिनुपर्दथ्यो, व्यवस्था बदलिए पनि हाम्रो अवस्था बदलिएको छैन।”
“ चुनावका बेलामात्रै राजनीतिक दलका नेताहरुले बस्तीमा पुगेर सबै थोक पूरा गर्ने वचनबद्धता गर्दछन्, चुनाव जितेपछि कोही पनि बस्तीमा फर्कंदैनन् युवालाई भारततर्फ पलायन हुनबाट रोक्नका लागि स्थानीय तहले आत्मनिर्भर बनाउने कार्यक्रम सञ्चालन गर्नुपर्दथ्यो, त्यो पनि हुन सकेको छैन”, उनले भने।
पुस्तौँदेखि गर्दै आएको कार्य भने गीत सङ्गीतको हो, त्यसलाई जीवन्त राखिनुपर्ने उनको भनाइ छ। बस्तीकै मना बादी पाठेघरको समस्याले दुई महिनादेखि थला परेका छन्। उपचार गर्ने पैसा नहुँदा पीडा सहेर बस्नुपरेको उनले सुनाए।
“हकअधिकारका लागि काठमाडौँसम्म आन्दोलन गर्यौँ, बादी समुदायको समस्या समाधानका लागि पटकपटक आयोग गठन हुँदै आए पनि हामीले अहिलेसम्म केही पाएनौँ”, दुराले भने, “बस्दै आएको फाँटामा पहिला बादी परिवार मात्रै बसेका थियौँ, जग्गाकै लागि बस्तीका १२ जना जेल बस्यौँ, अरुले जग्गा कब्जा गरेपछि नौधुर जग्गामा सीमित भएर बस्नुपरेको छ।” बालबालिकालाई विद्यालय पढाउन सकिने अवस्था नरहेको उनी बताउँछन्।
“सामुदायिक विद्यालयमै बादी समुदायका बालबालिकाबाट शुल्क लिइने गरिएको छ”, उनले भने, “परीक्षा शुल्क, भर्ना शुल्क, सरस्वती पूजा भनेर पैसा लिइने गरिएको छ, ऋणदान गरेर बालबालिकालाई विद्यालय पठाउँछौँ, शुल्क असुल्न थालेपछि खर्च धान्नै गाह्रो भएको छ।” जनता आवास कार्यक्रम अन्र्तगत बादी बस्तीमा २२ घर बनेका छन्।
निर्माण गरिएका घरको छानामा राखिएका जस्तापाता हावाहुरीले पटकपटक उडाउँदा बादी समुदायले हैरानी खेप्दै आएका छन्। “हावाहुरीले जस्तापाता उडाउँदा खुला आकास बस्नुपर्ने अवस्था छ”, विमल बादीले भने, “गर्मीका बेला जस्तापाता तातेर बस्नै सकिँदैन, पटकपटक हावाहुरीले जस्तापाता उडाउने पुनःछानामा राख्ने कार्य गरिँदै आएपछि जस्तापातामा प्वालैप्वाल पर्दा वर्षात्का बेला चुहिने गरेका छन्।”
निर्माण गरिएका घरको छानामा राखिएका जस्तापाता हटाएर पक्की ढलान गरिनुपर्ने उनको माग रहेको छ। अझै बस्तीका ५० परिवार झुपडीमै बस्दै आएका छन्। बादी परिवार कमाई खाने जग्गा, पुख्र्यौंली गीत सङ्गीतको पेसा जगेर्ना र युवालाई सीपमूलक रोजगारीमा संलग्न गराउन माग गर्छन्।
नगर प्रमुख हेमराज ओझाले बादी समुदायका युवालाई व्यावसायिक सीप सिकाएर स्वरोजगार बनाउन प्रतिबद्ध भएको बताउँछन्। “बादी समुदायले प्रस्ताव लिएर आए सोहीअनुसारको सीप सिकाएर व्यावसायिक बनाउँछौँ”, उनले भने। – रासस |
पुल मर्मत नहुँदा दुर्घटनाको जोखिम पर्वत। पर्वतको दक्षिण भेग र सदरमुकाम कुश्मा जोड्ने कुश्मा ज्ञादी झोलुङ्गे पुलको मर्मतसम्भार नगरिँदा दुर्घटनाको जोखिम बढेको छ।
पुल निर्माण भएको दुई दशक पुगिसक्दा पनि मर्मत गर्न सम्बन्धित निकायले चासो देखाएका छैनन्। पुलमा बिछ्याइएका फलामका डेक उप्कने नटबोल्ट खुकुलो हुने र कुनै कुनै ठाउँमा त नटबोल्ट नहुँदा दुर्घटनाको जोखिम बढेको स्थानीय बताउँछन्।
झोलुङ्गे पुलमा मोटरसाइकल गुडाउँदा जोखिम झन बढेको छ। मोदी खोलामाथि रहेको एक सय ३५ मिटर उचाइ र तीन सय ४४ मिटर लम्बाइको सो झोलुङ्गे पुलमा दैनिक तीन सय बढी मोटरसाइकल ओहोरदोहोर गर्दै आएका छन्।
“गाउँको कृषि उत्पादन बजार ल्याउनेदेखि आधा पर्वत रहेको दक्षिण भेगलाई कुश्मासँग जोड्न पुल निर्माण गरिएको हो”, पुल संरक्षण समितिका अध्यक्ष शिव शर्मा पौडेलले भने, “पुलमा मोटरसाइकल गुडाउन लगाएको रोक हाम्रो प्रयासले मात्र सम्भव भएन।”
पुल संरक्षण समितिका अध्यक्ष शर्माले पुल मर्मतका लागि कुश्मा नगरपालिकामा धेरैपटक हारगुहार गरेको भए पनि सुनुवाई नभएको बताए। “नगरभित्रको सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने दायित्व स्थानीय सरकारको हो”, उनले भने, “जिल्ला विकास समिति हुँदा एकपटक बजेट ल्याएर पुलको सामान्य मर्मत गरेका थियौँ तर स्थानीय सरकार बनेपछि कुनै ध्यान नै दिएको छैन।”
पर्वतकै पहिलो नमूना कुश्मा ज्ञादी झोलुङ्गे पुलले फलेवास नगरपालिका र तीन गाउँपालिका महाशीला, पैयुँ र बिहादीलाई सदरमुकाम कुश्मासँग जोडेको छ। एक घण्टाको बाटो उकालो र ओरालो गर्दै कुश्मा आउनुपर्ने झन्झट हटेर तीन मिनेटमा सीमित बनेको छ।
यो पुलपछि सदरमुकाम कुश्मामा मात्रै थप चार अग्ला तथा लामा झोलुङ्गे पुल निर्माण भएका छन्। ती पुलको पनि मर्मतसम्भार हुन नसकेको स्थानीयले बताएका छन्। पुलका लठ्ठा, डेक, नट, बल्टुलगायत समयसमयमा प्राविधिक जाँच गर्नुपर्ने भए पनि तीनै तहका सरकारको ध्यान नपुगेको पुलका परिकल्पनाकार सूर्यप्रकाश पौडेलले बताए।
उनले हरेक वर्ष पुलको प्राविधिक चेकजाँच हुनुपर्नेमा वर्षौंसम्म पनि मर्मत नहुँदा दुर्घटनाको जोखिम बढेकोसमेत बताए। पैदलयात्रा गर्ने पुलमा मोटरसाइकलसमेत सवार गराउँदा पुलको आयु कम हुँदै गएको उनको भनाइ रहेको छ।
यता कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले सदरमुकाममा रहेका सबै पुलको प्राविधिक चेकजाँच गरी आवश्यक मर्मतसम्भारका लागि कार्यपालिकामा छलफल गरिने बताएका छन्। नगरपालिकाका प्राविधिकलाई पुलको मर्मतका लागि आवश्यक कार्ययोजना निर्माण गर्न भनिएको उनको भनाइ रहेको छ। नगरको बजेटले सम्भव भएमा नगरकै र असम्भव भएमा प्रदेश र सङ्घमा माग गरिने बताए।
सदरमुकाम कुश्मालाई ज्ञादीसँग जोड्ने कुश्मा–ज्ञादी झोलुङ्गे पुल, फलेवाससँग जोड्ने बडागाउँ–मुडिकुवा झोलुङ्गे पुल, बागलुङसँग जोड्ने बडागाउँ–कैया झोलुङ्गे पुल र खरेहा–अधिकारीफाँट गरी चार वटा अग्ला र लामा झोलुङ्गे पुल निर्माण गरिएपछि स्थानीयवासीलाई सहज हुनुका साथै आन्तरिक तथा बाह्य पर्यटकको समेत चहलपहल बढ्दै गएको छ। |
जलेश्वर कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी, उभिएर खानुपर्ने बाध्यता जनकपुरधाम। क्षमताभन्दा ६३ प्रतिशत बढी कैदीबन्दी रहेको जलेश्वर कारागार महोत्तरीमा ठाउँको अभाव भएपछि ती कैदीबन्दी उभिएर खाना खान बाध्य भएका छन्। २०० कैदीबन्दी अटाउने क्षमता रहेको सो कारागारमा ५५० कैदीबन्दी छन्। कारागारभित्र ठाउँको अभावमा ति कैदीबन्दीहरु कष्टकर जीवन बिताउन बाध्यभएको कारागार प्रशासनले जनाएको छ।
बजेट तथा श्रोत साधनको अभावमा कारागारभित्र रहेका कैदीबन्दीहरुको जीवन कष्टकर हुँदै गएको बताउदै जेलर रामचन्द्र साह भन्छन्, ‘बस्ने ठाउँको अभाव, वर्षायाममा पानी चुहिने गरेकाले उनीहरुलाई खान र सुत्न समस्या हुने गरेको छ।’
कारागार कहिले निर्माण भएको यकिन तथ्याङ्गक नभए पनि राणाकालमा सो कारागार निर्माण भएको अनुमान गरिएको छ। यतिमात्र नभई संघीय सरकारले सिधाखर्चबापत प्रत्येक कैदीबन्दीलाई दिनको ७ सय ग्राम चामल र ८० रुपैया नगद दिने गर्छ । जुन ‘हात्तीको मुखमा जिरा’ जस्तो भएको त्यहाँका कर्मचारीहरुले टिप्पणी गर्छन्।
आर्थिक रुपमा कैदीबन्दीहरुको अवस्था गम्भीर रहेकोले थप आर्थिक आम्दानीको लागि कारागारभित्र करिब ४० जना कैदीबन्दीहरुले मुढा बनाए पनि बजारको अभावमा बिक्री हुन सकेको छैन।
कैदीबन्दी बस्ने तीनवटा लामो हल रहेको र प्रत्येक हलमा ३५ देखि ४० जनासम्म कोचिएर बस्ने गरेकाले विभिन्न रोगको जोखिमहरु बढ्न गएको छ। कारागार भित्र १४ वटा शौचालय, पुस्तकालय, औषधीपसल, किरना पसल र चिकित्सकहरुको व्यवस्थाभएपनिभौतिक संरचनाको अभावमाति कैदीबन्दीहरु प्रभावित हुँदै आएको छ।
२०७४ सालमा कारागारभित्र बाढी पसेपछि कारगार डुबानमा परेको स्मरण गर्दै सूचना अधिकारि रविन्दचन्द ठाकुरले भने, ‘पुरानो तथा जीर्ण कारागार भए पनि यहाँ जेल जीवन बिताउने कैदीबन्दीप्रति राज्यको ध्यान गएको छैन।’
संघीय सरकारले प्रतिकैदीबन्दीलाई सिधाखर्चापत एक करोड ६ लाख रुपैयाँ दिने गरेको भए पनि सो रकम अपुग भएको लेखा प्रमुख टिकाराम ओलीले बताएका छन्।
कारगाराभित्र रहेका ५५० जना कैदीबन्दीलाई वर्षमा ७० लाख २६ हजार २५० रुपैयाँ मूल्य बराबरको चामल, २८ लाख ५० हजार मुल्य बराबरको वर्षमा सबै कैन्दीबन्दीलाई दुईजोर कपडा, कैदिबन्दीलाई सेवा सुविधाबापत १९ लाख ५० हजार, कैदीबन्दीहरुलाई अन्य ठाउँमा हस्ताणतरणको लागि वार्षिक १ लाख ५० हजार, इन्धनबापत वार्षिक ५० हजार, सवारी साधनमर्मत खर्च २५ हजार मात्र संघीय सरकारले दिने गरेको छ। कैदीबन्दीहरुको उपचार गर्ख ५ लाख दिने गरेको छ।
अपुग रकमहरु माग गरिए पनि संघीय सरकारले थप रकम नदिँदा कारागारभित्रको समस्या यथावत रहेको कारागार प्रशासनले जनाएको छ। अहिलेको आर्थिकमन्दीको कारण समानहरुको मूल्यउच्च रहेकोले कैन्दीलाई सिधावापत दिने चामल र रकमले जीवनधान्न समस्या परेकोले उक्त रकम बढाउनु पर्ने माग कैदीबन्दीको छ। |
गहुँ खेतीमा रगिन गरिँदै टीकापुर। कैलालीमा विजवृद्धिका क्षेत्रमा काम गरिरहेका कृषि सहकारी तथा समूहले गहुँ खेतीमा रगिन गरिरहेका छन्।बीजवृद्धिका लागि गरिएको पाकेको गहुँ बालीमा जातीय शुद्धताका लागि रगिन भइरहेको हो।
बीउमा जातीय शुद्धताका लागि खडा अवस्थामा रही तयारी हुँदै गरेको बालीमा विभिन्न बीउ उत्पादक सहकारीले टोली बनाएर बालीमा रगिन गरिरहेका छन्। कैलालीको जानकी गाउँपालिका–४ स्थित बीजवृद्धि सहकारी संस्था मुनुवाले यस वर्ष २४ किसानलाई रगिनको कार्यमा लगाएको छ। बीजवृद्धिका लागि गरिएको खेतीबाट गुणस्तरीय बीउ उत्पादन गर्न सहकारीले किसान परिचालन गरी रगिन गराइरहेको छ।
उत्पादनमा गुणस्तरीयतासँगै बीउ उत्पादक किसानलाई सहज हुने भएकाले सहकारीले नै रगिनको काम गराइरहेको रगिन कार्यका फोकल पर्सन फुलराम कठरियाले बताए। “हामी किसानसँगै रगिन कार्यमा खटेका छौँ, रगिन गर्दा किसानलाई नै फाइदा पुग्छ”, उनले भने, “यहाँ व्यक्तिगत र समूहमा मिलेर बीजवृद्धिका लागि गहुँ खेती गरिएको छ।”
बीजवृद्धि सहकारी मुनुवाले यस वर्ष करिब एक सय ५० हेक्टर क्षेत्रफलमा विभिन्न जातका गहुँको बीजवृद्धि खेती गरेको छ। गुणस्तरीय बीउ उत्पादनअन्तर्गत जातीय शुद्धताका लागि खडा र तयारी अवस्थामा रहेकोे गहुँबालीमा अनावश्यकरुपमा रहेको बेजात झार हटाई जातीय शुद्धताका लागि अपनाइने कार्यलाई रगिन भनिन्छ। रगिन गर्दा खडा र तयारी अवस्थामा रहेको खेतमै कृषि प्राविधिकको प्रत्यक्ष संलग्नता, निरीक्षण र सल्लाहबमोजिम गरिन्छ। सोहीअनुसार आफूहरुले रगिन गरिरहेको मुनुवाका प्रबन्धक गोविन्द रावतले बताए।
“बेजात, झारपात हटाउनका लागि रगिन गरिएको हो”, उनले भने, “बेजात र झारपात हटाएमा गुणस्तरीय बीउ तयार हुन्छ । यो कार्य बाली पोकेका बेला गर्न सकिन्छ।”
गुणस्तरीय बीउमा शतप्रतिशत जातीय शुद्धता नहुने भएकाले रगिन गर्नुपर्ने हुन्छ। बीउ उत्पादनका लागि गरिने बालीको कम्तीमा दुईपल्ट रगिन गरिनु आवश्यक भएको प्राविधिक बताउँछन्। रगिन बाली पसाउनुपूर्व र बाली तयारीपूर्व गर्ने गरिन्छ। यसरी रोपिएका जातमा बेजात बाली हटाउने, विभिन्न झारपात हटाउने कार्य गरिन्छ। सोही आधारमा रगिनको टोली बनाएर गहुँ बालीको निरीक्षणसहित रगिन गर्ने कार्य भइरहेको नमूना बहुउद्देश्यीय सहकारीका अध्यक्ष जीतबहादुर चौधरीले बताए।
बीउमा शुद्धता नहुने भएकाले कृषि प्राविधिक वा दक्ष कृषकले मात्र रगिन गर्नुपर्दछ। रगिन गर्दा कृषि प्राविधिकको निरीक्षणसहित फिल्डमा काम गर्नुपर्ने भएकाले बीजवृद्धिका क्षेत्रमा क्रियाशील कृषि सहकारी, समूहले विशेष रगिन टोली बनाई काम भइरहेको क्षेत्रीय बीउबीजन प्रयोगशाला सुन्दरपुर, कञ्चनपुरका बाली विकास अधिकृत सिद्धराज उपाध्यायले बताए।
“विगत वर्षबाटै यो भइहरेको छ। रगिन गर्दा किसान, समूहलाई मात्र दिएर हुँदैन”, उनले भने, “स्वयं किसानलाई बालीको माया लाग्ने भएकाले बेजात हटाउन लोभ गर्नुहुन्छ । त्यसैले टोली बनाएर रगिन गर्न सल्लाह दिएका छौँ।” |
पर्यटकको रोजाइ बन्दै पटिहानी भरतपुर। वन्यजन्तु अवलोकनका लागि आउने पर्यटकका लागि चितवन उत्कृष्ट गन्तव्य हो। चितवन राष्ट्रिय निकुन्जमा दुर्लभ एकसिंगे गैँडा र अन्य वन्यजन्तु हेर्नका लागि देश विदेशबाट पर्यटक आउने गर्छन्।
निकुञ्ज घुम्न आउने पर्यटकका लागि सौराहा परिचित नाम हो। सौराहाजस्तै निकुञ्जसँग जोडिएका अन्य ठाउँ पनि उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा विकसित हुँदै गएका छन्।
सौराहाजस्तै पछिल्लो समय पश्चिम चितवनको पटिहानी पर्यटकको रोजाइमा पर्ने गरेको छ। भरतपुर महानगरपालिका-२२ मा पर्ने पटिहानी अहिले स्वदेशीसँगै विदेशी पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ। यहाँ विदेशी पर्यटकको आगमन बढ्न थालेको वडाध्यक्ष विष्णुराज महतोले बताए।
“पर्यटकको पटिहानीमा बसाई लम्ब्याउनका लागि स्थानीय तहले विभिन्न पूर्वाधार निर्माणका साथै समन्वय गर्दै आएको छ”, उनले भने, “निकुञ्जका जंषली जनावर पश्चिमतर्फ केन्द्रित हुन थालेपछि जंगल सफारीका लागि आउने पर्यटकको रोजाइमा यो क्षेत्र पर्न थालेको छ।” यहाँको शान्त वातावरणले पर्यटकलाई लोभ्याउने गरेको छ।
भरतपुरको मुख्य बजार क्षेत्रबाट करिब १४ किलोमिटरको यात्रापछि पटिहानी पुग्न सकिन्छ। कोरोना महामारीका कारण सुस्ताएको यहाँको पर्यटकीय गतिविधि पुनः जुर्मुराएको छ।
चितवन राष्ट्रिय निकुञ्जसँगै रहेको राप्ती नदीमा हात्तीसँगै रमाइलो गर्दै भेटिएका पर्यटक पटिहानीको वातावरणमा खुसी देखिन्छन्। जर्मनीबाट आएका उलफले राप्तीमा हात्तीमा चढेर नुहाउँदा निकै रमाइलो लागेको अनुभव सुनाए। उनले नेपाल प्राकृतिकरुपमा सुन्दर रहेको भन्दै चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ वन्यजन्तु हेर्न पाउनु आफूहरुको सौभाग्य भएको बताए।
पटिहानी आइपुग्ने पर्यटकले चितवन राष्ट्रिक निकुञ्जसँगै बग्ने राप्तीमा घडियाल गोहीका साथै एकसिंगे गैँडालगायत वन्यजन्तु अवलोकन गर्न पाउँछन्। महँगा पर्यटकलाई तान्नका लागि यहाँ ठूला-ठूला सुविधा सम्पन्न होटल निर्माण गरिएको वडाध्यक्ष महतोले बताए। पटिहानीमा स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरी पर्यटकीय संरचना निर्माण गरिएका छन्।
स्वदेशी पर्यटकलाई लक्षित गरेर निर्माण गरिएको अम्ब्रेला स्ट्रिट आकर्षणको केन्द्र बनेको छ। भरतपुर महानगरपालिकाको सबैभन्दा नजिकको दूरीमा पर्यटकीय केन्द्र पटिहानी पुग्न सहज छ। महानगरपालिकाभित्र निर्माण गर्न लागिएको चक्रपथ पनि यही क्षेत्र भएर जान्छ।
यहाँ खुलेका होटल र पर्यटकको आवागमनले पटिहानीमा पर्यटकीय गतिविधि बढ्दै गएको भरतपुर-२२ का दीपक पौडेल बताउँछन्।
चालु आर्थिक वर्ष २०७९/८० को फागुनसम्म एक लाख ९१ हजार आठ सय ८३ जना निकुञ्ज घुमेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए।
गत आवमा एक लाख ९० हजार चार सय ५८ जनाले निकुञ्जको भ्रमण गरेका थिए। आर्थिक वर्ष सकिन चार महिना बाँकी रहँदा नै पर्यटकको सङ्ख्या अघिल्लो वर्षको भन्दा बढी छ। निकुञ्जमा एकसिंगे गैँडा, पाटेबाघ, घडियाल गोहीजस्ता जनावरसँगै चराचुरुङ्गी देख्न पाइन्छ। रासस |
बागमती प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा थापा बागमती । बागमती प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा सिन्धुलीका प्राध्यापक डा नरविक्रम थापा नियुक्त भएका छन् । आज बसेको बागमती प्रदेशको मन्त्री परिषद्को बैठकले थापालाई उपाध्यक्षमा नियुक्त गरेको हो ।
यसैगरी बैकठले आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठलाई बागमती प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी दिएको छ । यसको साथै २०८० वैशाख १ गतेदेखि बागमती प्रदेश सरकार मातहतका सरकारी कार्यालयमा विद्युतीय हाजिर लागू गरिने सरकारका प्रवक्ता श्रेष्ठले जानकारी दिए । उनको अनुसार मन्त्रिपरिषद्को बैठकले चेपाङ्गहरुको न्वागी र माझी समुदायको लदी पर्वको अवसरमा समुदायगत रुपमा बिदा दिने निर्णय गरेको छ । |
भ्रष्टाचार न्युनिकरण गर्न कुच्चो उपहार मुगु । मुगुमा पछिल्लो समय भ्रष्टाचार र अनियमितता बढ्दै गएको भन्दै त्यसको न्युनिकरणका लागि ११ बुँदे मागसहित ज्ञापन पत्र र कुच्चो उपहार दिइएको छ । वास नेपालका लागि मुगु जिल्ला स्तरमा आवद्ध युवा युवतीहरूको आयोजनामा मंगलबार सहायक प्रमुख जिल्ला अधिकारी खड्क बहादुर रोकायालाई ज्ञापन पत्र बुझाउनुका साथै कुच्चो उपहार प्रदान गरिएको हो ।
जिल्लामा व्याप्त भ्रष्टाचार, अनियमितता, ढिला सुस्ती, घुसखोरी जस्ता बेथितिकाविरुद्ध जिल्ला प्रशासन कार्यालयमा कुच्चो उपहार र ज्ञापनपत्र बुझाउने कार्य भएको वास नेपाल मुगुका अध्यक्ष चीन बहादुर शाही (कुमार) ले बताए ।
उनका अनुसार विशेष गरेर भ्रष्टाचारको कसिङ्गर बढार्नका लागि कुच्चो उपहार दिइएको हो । ‘भ्रष्टचारी पनि कार्यालय, समाज, र राष्ट्रका फोहोरी हुन् । भाइरस हुन् । यिनीहरूलाई पनि कुच्चोले फोहोर बढारे झैँ बढार्न आवश्यक छ ,’ उनले भने ।
असल शासन, सामाजिक जवाफ देहिता, सामाजिक सद्भाव, सामुदायिक सुरक्षा, युवा सशक्तीकरण, स्वयंसेवा, बाल अधिकार, बाल संरक्षण, लैङ्गिक हिंसा न्यूनीकरण, सामुदायिक सशक्तीकरण र संस्थागत विकासका क्षेत्रमा सुधारका लागि यो कार्यक्रम आयोजना गरिएको उनले बताए ।
ज्ञापन पत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी रोकायाले कुनै पनि सरकारी निकायले सरल र सहज ढङ्गले जनतालाई सुविधा दिनुपर्ने, सरकारी कर्मचारी जनताप्रति जवाफदेही हुनुका साथै सेवाग्राहीलाई सम्मान गर्ने खालको हुनुपर्ने उल्लेख बतााए । |
बागमती प्रदेश सरकारको प्रवक्तामा गंगानारायण श्रेष्ठ हेटौंडा। बागमती प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले पाएका छन्। प्रदेश मन्त्रिपरिषदको बुधबार बसेको बैठकले श्रेष्ठलाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो।
यसअघि प्रवक्तामा नेकपा एमाले संसदीय दलका नेता एवं आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलिया थिए। नेकपा एमाले बागमती प्रदेश सरकारबाट बाहिरिएपछि श्रेष्ठलाई प्रवक्ताको जिम्मेवारी दिइएको हो।
मन्त्रिपरिषद बैठकले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा सिन्धुलीका प्रा.डा. नरबिक्रम थापालाई नियुक्त गर्ने निर्णय गरेको छ।
|
गोलबजारका मेयर श्रेष्ठ माथी मोबिल छ्याप्नेलाई कारबाही गर्न माग सिरहा । गोलबजार नगरपालिकाले मेयर श्यामकुमार श्रेष्ठमाथि मोबिल छ्याप्ने कार्यमा संलग्नहरुलाई कडा कारबाहीको माग गरेको छ।
गत मंगलवार अपरान्ह मेयर श्रेष्ठमाथि विभिन्न आरोप लगाउँदै मोबिल छ्याप्ने समूहलाई तत्काल पक्राउ गरी कडा कार्वाहीको लागि आज नगरपालिकाले पत्रकार सम्मेलन गरी सो माग गरेको हो।
तत्काल घटनाका दोषीहरुलाई पक्राउ गरी प्रहरीले कार्वाही नगरे अझै ठूलो आन्दोलन हुने चेतावनी मेयर श्रेष्ठले दिएका छन् पत्रकार सम्मेलनमा मेयर श्रेष्ठले भने, ‘हामी प्रहरीले घटनामा संलग्नहरुलाई तत्काल पक्राउ गरी कारबाही गरोस भन्नेमा छौं, हामी आजै नै उनीहरुविरुद्ध उजुरी दर्ता गराउँदै छौं।’
मगलवार नेपाल कम्यूनिष्ट पार्टी बहुमतले लघुवित्तमार्फत गरिब जनतालाई उठिबास लगाएको, मिटरव्याजीहरुलाई संरक्षण गरेको, हटियाको करमा एक करोड ५२ लाख ब्रम्हलुट गरेको तथा गोलबजार १ मुक्सार बाटोको ६२ लाख हिनामिना गरेको, अवैधानिक तरिकाले नदिको दोहन गरेको, अन्यायपूर्ण तरिकाले नगरपालिकामा कार्यरत कर्मचारी हटाईएको र सो पार्टीका नेता कार्यकता विरुद्ध सुराकी गरेको थप आरोप पनि बहुमतको छ ।
तर मेयर श्रेष्ठले भने त्यसको प्रतिवाद गरेका छन । ‘बजार ठेक्काको रकम, नदिबाट उठेको रकम नगरपालिकामा जम्मा नभएको र त्यसबारे आफूले पटक पटक ताकेता र आवाज उठाउँदै आएको छु,’ उनले भने । आफू मीटरव्याज पीडितको पक्षमा रहेको र हाल नेपालमा कुनै पार्टी भूमिगत नभएको र उनीहरु प्रति सुराकी गर्न जरुरी नै नरहेको उनको भनाइ छ ।
मेयर श्रेष्ठले नेपाल कम्यूनिष्ट पार्टी बहुमतले लगाएको आरोप पार्टीका उच्च पदस्थ नेताहरुलाई प्रमाणित गरेर देखाउन चुनौति दिएका छन्। उनले भने, ‘म पनि राजनीतिक गरेर आएकै व्यक्ति हु, उनीहरुले लगाएको कुनै एउटा आरोप सत्य सावित गरेर देखाउन उहाँहरुलाई मेरो चुनौति छ।’
मेयर श्रेष्ठमाथि प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षबाट निस्किएर गाडी चढ्ने बेला एकजना अपरिचित व्यक्तिले केही कागजहरु दिएजस्तो गरिरहेकै वेला सँगै आएका अर्को व्यक्तिले मेयर श्रेष्ठ माथी मोविल खन्याएका थिए। सो घटनापछि आज बिहान नेकपा एमालेका कार्यकर्ताले नारावाजी गर्दै एक घण्टाभन्दा बढी पुर्व पश्चिम राजमार्गको गोलबजारमा सडक अवरुद्ध गरेका छन्। प्रहरीले बल प्रयोग गरी बाटो खुलाएको छ।
फरार रहेकाहरुलाई खोज तलास गरिरहेको जिल्ला प्रहरी कार्यालयका निमित पवक्ता प्रहरी निरिक्षक शंकर चौधरीले जानकारी दिए । |
१० प्रतिशत विपन्नको निःशुल्क उपचार गर्न निर्देशन मकवानपुर। जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडा मोडेल अस्पताललाई कम्तीमा १० प्रतिशत विपन्नको निःशुल्क उपचार गर्न निर्देशन दिएको छ। कार्यालयको नेतृत्वमा विषयगत कार्यालयका प्रतिनिधि सम्मिलित टोलीले मङ्गलबार अनुगमनका क्रममा सो अनुसारको सेवा उपलब्ध नगराएको पाएपछि उक्त निर्देशन दिएको हो।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत गुणराज न्यौपानेका अनुसार अनुगमनको क्रममा निजी स्वास्थ्य संस्था एकीकृत अनुगमन चेक लिस्टमा भएअनुसार महिला र पुरुषलाई छुट्टै शौचालय, नार्कोटिन औषधि बिक्री गर्ने व्यवस्था, कम्तीमा १० प्रतिशत विपन्नलाई निःशुल्क उपचारको योजना, सूचना अधिकारीको व्यवस्था, सेवासँग सम्बन्धित ऐन नियमावली, ऐम्बुलेन्सको व्यवस्था नरहेको पाइएको हो।
त्यस्तै, फार्मेसीको प्रमाणपत्र सच्याउनुपर्ने, म्याद सकिएको औषधि फिर्ता गर्नुपर्ने, सी ग्रडेको ल्याबमा प्रयोगशाला सञ्चालन गर्दा नियमबमोजिम न्यूनतम जनशक्ति राख्नुपर्ने, प्रयोगशाला शाखामा फोहर व्यवस्थापन गर्नुपर्ने, रेफ्रिजेरेटर टेम्प्रेचर चेक लिस्ट राख्ने, हट एयर मिटर राख्ने, अटोमेटिक मेसिन सञ्चालनका लागि एसी २४ घण्टा नियमित सञ्चालन नरहेको पाइएकाले सच्याउन निर्देशन दिएको हो।
टोलीले अस्पतालको प्रयोगशाला, फिजियोथेरापी, इमर्जेन्सी, शल्यक्रिया थियटर, उच्च संवेदनशील कक्ष, आइसीयु, जनरल वार्डमा अनुगमन गरेको थियो। प्रशासनले केही दिनअघि मकवानपुर सहकारी अस्पताल, सिटी अस्पताल र सञ्चो अस्पतालमा पनि अनुगमन गरेको थियो। |
चैतेदशैँमा दर्शनार्थीको घुइँचो बैतडी। चैतेदशैँको अवसरमा बैतडीका धार्मिक तथा पर्यटकीयस्थल आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। यहाँका शक्तिपीठमा बलिसहित विषेश पूजाआजा हुने गरेकोले बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको स्थानीय दीपेन्द्रबहादुर बोहराले जानकारी दिए।
यहाँको प्रसिद्ध निङ्गलाशैनी, त्रिपुरासुन्दरी, मेलौली भगवती मन्दिरमा पशु बलिसहित पूजाआजा भइरहेको छ। यस्तै डिलाशैनी, कफलाशैनी सिगास, महारुद्र, अनिरुद्र, शिवनाथ, दोगडाकेदार, वासुलिङ, भूमिराजलगायतका मन्दिरमासमेत जात्रा लाग्ने गर्दछ।
नवरात्र सुरु भएदेखिनै यहाँका विभिन्न शक्तिपीठ तथा मन्दिरमा पूजाआजा गर्ने दर्शनार्थी पुग्ने गरेका थिए। चैतेदशैँका दिन आज बलिसहित जात्रा हुने भएकाले बिहानैदेखि भक्तजनको भिड रहेको निङग्लाशैनी मन्दिरका भण्डारे चक्रबहादुर बोहराले बताए। बसाइँसराइ गरेर गएका पनि चैतेदशैँमा पूजापाठका लागि पुर्ख्यौली थलोमा फर्कने गरेकाले परिवारका सदस्यहरुबीच भेटघाट पनि हुने गर्दछ।
नवरात्रमा बसाइँ सरेर तराई गएकासमेत पूजाआजाका लागि आउने गरेका पण्डित जयानन्द भट्टले बताए। यसका साथै चैतेदशैँमा यहाँ नेपालका विभिन्न जिल्ला र भारतबाट समेत भक्तजन आएका छन्।
यसैबीच नवरात्रको अवसर पारेर यसअघि यहाँको प्रसिद्ध निङ्गालाशैनी भगवती मन्दिरको प्राङ्गणमा हिङ्लो ठड्याइएको थियो। हिङलो निर्माण समितिका संयोजक प्रकाश बोहराका अनुसार निङ्लाशैनी भगवती मन्दिरमा रहेको पुरानो हिङ्लो जीर्ण भएपछि नयाँ हिङ्लो राखिएको हो।
निङ्लाशैनी भगवती धार्मिक वनबाट देवदारको रुख काटेर नयाँ हिङलो निर्माण गरिएको हो। पिङ अर्थात ‘हिङलो’मा भगवतीको सवारी भएर पिङ खेल्ने जनविश्वास रही आएको छ। |
भोलि कर्णाली प्रदेशमा सार्वजनिक बिदा सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेशमा भोलि सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले चैत १६ गते बिहीबार शुक्ल नवमी(राम नवमी)का अवसरमा कर्णाली प्रदेशका दशवटै जिल्लामा सार्वजनिक बिदा दिएको हो ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता निधिराज न्यौपानेले गत वर्ष विसं २०७८ चैत २९ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयबमोजिम चैत १६ प्रदेशस्थित सबै सरकारी, सार्वजनिक सङ्घसंस्थामा बिदा दिइएको बताए।
कर्णाली प्रदेशको विशेषगरी जुम्ला जिल्लामा बारुवाँ (चैत १२) गते मार्सी धानको बेर्नाका लागि खोला वा नदी किनारमा भिजाइएको मार्सीको बीउ घरमा ल्याएर चुल्हो नजिक राखी तताउने र टुसा निकालेर आलीमा छर्न योग्य बनाउने चलन छ । |
दार्चुलामा आयोडिन नुनको खपत बढ्दै खलङ्गा। दार्चुलामा पछिल्लो समय आयोडिन नुनको खपत बढेको छ। केहि वर्ष पहिलेसम्म दार्चुलाको ग्रामिण तथा बजारक्षेत्रमा भारतीय बजारबाट आयात गरिने ढिके नुनको अत्यधिक प्रयोग हुने गरेकोमा पछिल्लो समय आयोडिन नुनको प्रयोग तथा बिक्री वितरण बढेको छ।
जनचेतना बृद्धिसँगै आयोडिन नुनको प्रयोग बढेको हो। दार्चुलामा खलंगा र गोकुलेस्वर गरी आयोडिन नुनका दुई डिपो रहेका छन भने ब्यास, दुहु, अपिहिमाल र मालिकार्जुनमा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको बिक्री केन्द्र स्थापना गरिएका छन्।
बिक्री केन्द्र स्थापना भएसँगै जिल्लामा आयोडिन नुनको बिक्री बितरण र प्रयोग दर बढ्दै गएको साल्ट ट्रेडिङ डीपो कार्यालय दार्चुलाका कार्यालय प्रमुख प्रेम सिंह कुँवरले बताए।
महाकाली नगरपालिका–४ खलंगामा रहेको बिक्री डिपोबाट चालु आर्थिक वर्षको फागुनसम्म एक हजार सात सय ३९ क्वीन्टल ५० किलोग्रा बिक्री भएको कार्यालय प्रमुख कुँवरले जानकारी दिए। गत वर्ष ६ सय ४६ क्वीन्टल ५० किलोग्राम नुन मौज्दात थियो।
चालु आर्थिक वर्षमा दुई हजार क्वीन्टल आयोडिन नुन जिल्लालाई प्राप्त भएको छ। त्यस्तै शैल्यशिखर नगरपालिकामा रहेको गोकुलेश्वर डिपोमा नुनको बिक्रीदर बढ्दै गएको गोकुलेश्वर डिपो प्रमुख लक्ष्मण सिंह धामीले बताए। |
म्याद गुज्रिएका सामान बेच्ने दुई उद्योग सिल वीरगञ्ज । म्याद गुज्रिएका खाद्यवस्तु बिक्री वितरण गरेको आरोपमा पर्साको वीरगञ्ज महानगरपालिका–१३ स्थित दुई उद्योगलाई संयुक्त अनुगमन टोलीले सिल गरेको छ ।
अनुगमन टोलीले म्याद गुज्रिएको सामान प्याकिङ गरिरहेको पाएपछि वीरगञ्ज महानगरपालिका–१३ श्रीपुरस्थित श्रवण रुङटाको घरमा सञ्चालित फुडको नेपाल प्रालि र स्न्याक एन्ड प्याक इन्डिस्ट्रज सिल गरेको हो । घर भाडामा लिएर सञ्जय अग्रवाल, विद्या सरावगी र सन्तोष अग्रवालले संयुक्तरूपमा सञ्चालन गर्दै आएको दुवै उद्योगमा छापा मारेर सिल गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।
म्याद गुज्रिएका खाद्यवस्तु रिलेब्लिङ गरी बजारमा बिक्री गर्दै आएको सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्ज, खाद्य तथा गुणस्तर कार्यालय वीरगञ्ज र वीरगञ्ज उद्योग वाणिज्य सङ्घको संयुक्त टोलीले ठूलो परिमाणमा म्याद गुज्रिएको सामान प्याकिङ भइरहेको फेला पारेपछि सिल गरिएको प्रहरी नायब उपरीक्षक गिरीको भनाइ छ ।
सो क्रममा उद्योगभित्र प्याकिङ गरिरहेका स्थानीय ३२ वर्षीय मनिषकुमार चौधरी, वीरगञ्ज–७ निवासी २३ बर्षीय आयुष अग्रवाल र वीरगञ्ज–१४ निवासी ३८ वर्षीय हरिनारायणप्रसाद कुर्मीलाई पक्राउ गरिएको छ । उद्योगका सञ्चालक भने फरार छन् । दुवै उद्योगबाट करिब रु ९१ लाखभन्दा बढी मूल्य बराबरको म्याद गुज्रिएका ड्राइफुड्स (लालमोहन, चिप्स, चकलेट, ससेज, जाम, फुलनदाना इत्यादि) बरामद भएको प्रवक्ता गिरीले जानकारी दिए । |
रकम भुक्तानी नहुँदा स्वास्थ्य सुविधाबाट बञ्चित गलकोट। निसीखोला गाउँपालिकाले स्वास्थ्य बीमा रकम भुक्तानी नगर्दा यहाँका बासिन्दा स्वास्थ्य सेवाबाट बञ्चित भएका छन्।
गाउँपालिकाले नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिने उद्देश्यले एक हजार आठ सय ३८ जनाको फागुन महिनादेखि लागू हुने गरी स्वास्थ्य बीमा गरे पनि गाउँपालिकाले समयमै भुक्तानी नगर्दा समस्या भएको हो। निसीखोला–१ किटेनीका वीरबहादुर विक गत फागुन २५ गते जाँचका लागि बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्र पुगे।
गाउँपालिकाले फागुनदेखि लागू हुन्छ भनेर दिएको स्वास्थ्य बीमा परिचयपत्र साथमै बोकेर गएका विकलाई स्वास्थ्य केन्द्रले बीमा योजना लागू नभएको भन्दै पूर्ण शुल्क तिरेमात्र उपचार हुने बताए। उनले उपचारका क्रममा लागेको सम्पूर्ण रकम तिरेर घर फर्किए।
विक मात्र होइन, यतिबेला निसीखोलाले फागुनदेखि लागू हुने गरी बीमा गरेका स्थानीय सुविधाबाट बञ्चित छन्। गाउँपालिकाले बीमा गरिदिए पनि रकम समयमै भुक्तानी नगरेका कारण उनीहरु सेवाबाट बञ्चित भएका हुन्। गत असारमा सम्पन्न दशौँ गाउँसभाले गाउँपालिकाका सम्पूर्ण नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने घोषणा गरेको थियो। सोहीअनुसार गाउँपालिकाले पाँच हजार चार सय परिवारका लागि राजस्व बाँडफाँटबाट रु दुई करोड विनियोजन गरेको थियो।
पहिलो चरणमा नौ हजार एक सय ८५ जनाको स्वास्थ्य बीमा गर्ने गरी विवरण सङ्कलन गरिएको थियो। गाउँपालिकाले हालसम्म पहिलो चरणको रु ६४ लाख बीमा रकम भुक्तानी गर्न नसक्दा बीमा गरेका नागरिक पनि सुविधाबाट बञ्चित भएका हुन्।
सङ्घ, प्रदेश र पालिकाको आन्तरिक स्रोतको राजस्व बाँडफाँटबाट नागरिकको बीमा गर्ने निर्णय गरे पनि सङ्घ र प्रदेशबाट समयमै बजेट नआउँदा रकम भुक्तानी गर्न नसकिएको गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले बताए। गाउँपालिकाले असोज, कात्तिक र मङ्सिरमा रकम भुक्तानी गरेको भए फागुन १ गतेदेखि नागरिकले बीमाको सेवा लिन पाउने थिए।
सङ्घीय सरकारबाट केही दिन अघि रु ५५ लाख प्राप्त भएको र चाँडै रु एक करोड भुक्तानी गर्ने तयारीमा रहेको गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत दिलीपकुमार चन्दले बताए। – रासस |
चैतेदशैँमा सोमेश्वरगढी र गोद्धकमा भक्तजनको घुइँचो भरतपुर। चितवनका धार्मिक तथा पर्यटकीयस्थल विक्रमबाबा, सोमेश्वरगढी र गोद्धकमा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। चैत्र शुक्ल अष्टमी अर्थात् चैतेदशैँको अवसरमा यी शक्तिपीठमा भक्तजनको घुइँचो लागेको हो।
चैतेदेशैँको नवरात्र सुरु भएदेखि नै यहाँ नेपालका विभिन्न जिल्ला र भारतबाट समेत भक्तजन आएका छन्। हरेक वर्ष चैतेदशैँमा मनाइने विक्रमबाबा मेला एक साता अघिदेखि सुरु भएको हो।
भरतपुर महानगरपालिका–२३ को कार्यालय, निकुञ्ज प्रशासन, निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना र पूजा व्यवस्थापन समितिले विक्रमबाबाको मन्दिरमा एक साताअघि पूजा गरेपछि मेला सुरु भएको थियो। भरतपुर महानगरको वडा नं २३ का वडाध्यक्ष दीपक दबाडीका अनुसार मेला चैत २३ गतेसम्म सञ्चालन हुनेछ। उनले यस वर्ष हजारौँ भक्तजन विक्रमबाबा मेलामा आएको बताए।
राप्ती पुलबाट करिब दुई किलोमिटर निकुञ्जभित्र विक्रमबाबाको दर्शन तथा पूजापाठ गर्ने गरिन्छ। विक्रमबाबाको पूजा परापूर्वकालदेखि थारू जातिले गर्ने भए पनि पछिल्लो समय सबै समुदायले पूजा गर्न थालेका छन्। सन्तान प्राप्ति र सुखलगायत मनोकांक्षा पूरा हुने विश्वासका साथ विक्रमबाबाको पूजा गर्ने प्रचलन छ।
यस्तै माडीको गोद्धक मेलामा पनि भक्तजनको घुइँचो लागेको छ। धार्मिक एवं पुरातात्विक महत्व बोकेको माडी नगरपालिका–१ मा रहेको गोद्धकमा गोद्धक राम चरित्रकथा यज्ञ एवं गोद्धक मेला एक साता अघिदेखि सुरु भएको हो। चैत १७ गतेसम्म मेलासँगै यज्ञ सञ्चालन हुनेछ।
मेलामा गुरु चैतन्य कृष्णले राम कथावाचन रेका छन्। यज्ञसँगै गोद्धक मेलामा हरेक दिन सांस्कृतिक कार्यक्रम, ठेलो फाल्ने प्रतियोगिता, भलिबल प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ। गोद्धक क्षेत्र विकास संस्थाका अध्यक्ष तुलसिंह गुरुङले यहाँ रहेका चार धामको अवलोकन गरी धार्मिक पर्यटनको विकास गर्ने उद्देश्यले मेला आयोजना गरिएको बताए।
गोद्धक क्षेत्रका बारेमा महाभारत तथा रामायणमा रोचक कथा समेटिएका छन्। यहाँ गोद्धकनाथ बाबा मन्दिर, शिवमन्दिर, सीता गुफा, परशुराम कुण्ड, द्रौपती कुण्ड, कुकुरनाथ, बिरालोनाथलगायत प्राचीन एवं धार्मिक महत्व बोकेका ठाउँ गोद्धक क्षेत्रमा प्रशस्तै छन्। गोद्धकमा पाँचपाण्डवले तपस्या गर्थे भन्ने विश्वास छ।
प्राचीन किंवदन्तीअनुसार यहाँ परशुरामले तपस्या गरेका थिए। परशुराम ऋषिले आफ्नै आमाको हत्या गरेर पाप मोक्ष (पाप पखाल्न) गर्न गोद्धक क्षेत्रमा रहेको देउता खोलाको सिरानको कुण्ड (परशुराम कुण्ड)मा पुगी स्नान गरेकोे धार्मिक विश्वास रहेको छ। धार्मिक पुरातात्विक महत्वका मूर्ति, इनार, कुण्ड अवलोकन गर्न र विशेष पर्वमा मठमन्दिरमा स्वदेशी तथा विदेशी भक्तजनको घुइँचो लाग्ने गर्छ।
यस्तै माडीको सोमेश्वरगढीस्थित कालिका मन्दिरमा भक्तजनको घुइँचो लागेको छ। कालिका मन्दिरमा प्रत्येक वर्ष चैत शुक्ल प्रतिपदादेखि चैत शुक्ल नवमीसम्म विशेष पूजाआजासहित भव्य मेला लाग्ने गर्छ। नेपाल र भारतको सीमाक्षेत्रमा रहेको सो मन्दिर परिसरमा हरेक वर्ष चैतेदशैँको अवसर पारेर हुने मेलामा नौ दिनसम्म पूजाआजा हुने परम्परा छ। मेलामा पूजा गर्न दैनिक दशौँ हजारको सङ्ख्यामा नेपाली र भारतीय भक्तजन आउने गरेका छन्।
सोमेश्वरगढी पुग्ने पर्यटक तथा भक्तजनको सहजतालाई मध्यनजर गर्दै माडी नगरपालिकाका निर्माण साधन प्रयोग गरी सडकको मर्मत गरिएको र मन्दिरस्थल सरसफाइ, पिउने पानीको व्यवस्था र अन्य आधारभूत काम गरिएको सोमेश्वर क्षेत्र पूजा व्यवस्थापन समितिका अध्यक्ष पीताम्बर पोखरेलले बताए। उनले यस वर्ष भारतबाट हजारौँ भक्तजन सोमेश्वरमा आएको बताए। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले घोषणा गरेको एक सय पर्यटकीय गन्तव्यस्थलमध्ये चितवनको सोमेश्वरगढी पनि एक हो। |
बसाइँसराइले रितिदै जैमिनीका गाउँ बलेवा। दुई वर्षअघि बस्तीमाथिबाट आएको पहिराले एउटै गाउँमा दुई जनाको ज्यान लियो। आठ घर पुरिए, दर्जन बढी घर जोखिममा परे। पहिराले आक्रान्त बागलुङको जैमिनी नगरपालिका-१ कुश्मीशेराको टुनिबोट गाउँमा ४५ घरपरिवार थिए। बसाइँसराइले अहिले गाउँ नै रित्तिएको छ।
सोही वर्ष जैमिनी-९ पैञ्युथन्थापको पिप्लेगाउँका सबै उठ्ने गरी पहिरो खस्यो, सात घरपरिवार जोखिममा परे। मानवीय क्षति नभए पनि अधिकांश घरको उठिबास लाग्यो। पैञ्युथन्थापकै घ्युरमा आएको पहिराले गाउँले विस्थापित बने।
जैमिनैकै दमेक, जैदी र बिनामारेमा पहिराले धेरै धनजनको क्षति भयो। तत्कालका लागि पहिराले पुर्याएको क्षतिको राहत त पीडितले पाए, तर बाढीपहिरो, बाँदर र विकास अभावले भइरहेको बसाइँसराइका दीर्घकालीन प्रभाव भने देखिन सुरु गरेको छ।
प्राकृतिक प्रकोपका कारण भइरहेको बसाइँसराइको एउटा ज्वलन्त उदाहरण हो जैमिनीको जनसङ्ख्यामा आएको गिरावट। विसं २०७८ मा भएको राष्ट्रिय जनगणनाको तथ्याङ्कले यही उजागर गरेको छ।
जैमिनीकै मुटु कुश्मीशेरामा रहेको शान्ति माध्यमिक विद्यालयको एसइई व्याच २०६४ का एक सय बढी विद्यार्थीमध्ये अधिकांशले कक्षा १२ उत्तिर्ण गरेपछि जैमिनी छाडेका जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा बताउँछन्।
शान्ति माविमा जैमिनीका अधिकांश विद्यार्थीले अध्ययन गर्थे। उच्च शिक्षाका लागि घर छाडेर हिँडेकामध्ये धेरैजसो गाउँ फर्किएनन्। युरोप, अमेरिका र देशकै ठूला सहरमा पुगेकाहरु उतै बसेका उनले बताए।
रोजगारीका अवसर गाउँमा नहुनु, कृषि पेसाले मात्रै गुजारा नचल्नुलगायतन कारणले नगरको जनसङ्ख्या घट्दो छ। राष्ट्रिय जनगणना २०७८ अनुसार जैमिनीमा दुई दशमलव ५३ प्रतिशत जनसङ्ख्या ऋणात्मक रहेको छ।
राष्ट्रिय जनगणना २०६८ अनुसार यहाँको जनसङ्ख्या ३२ हजार ४६ रहेकामा १० वर्षपछि २४ हजार छ सय २८ मा झरेको छ। ऋणत्मक जनसङ्ख्या हुनेमा फलेवास नगरपालिका पनि रहेको छ।
“जनसङ्ख्या धेरै घटेको पाइएको छ”, उपप्रमुख शर्मा भन्छन्। देश बाहिरभन्दा देशभित्रै बसाइँ सरेर जाने जैमिनीमा धेरै छन्। जैमिनीका स्वास्थ्य शाखा प्रमुख गोविन्द आचार्य बसाइँसराइसँगै जन्मदर घट्दा जनसङ्ख्या घटेको बताउँछन्। जैमिनीमा एक प्रतिशतभन्दा कम जन्मदर रहेको तथ्याङ्कले देखाएको छ। रासस |
ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प काठमाडाैं। नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर गए राति ११ बजेर ४१ मिनेट जाँदा चार दशमलव छ रेक्टर स्केलको भूकम्प गएको हो। उक्त भूकम्पको धक्का पूर्वका विभिन्न जिल्लामा महसुस गरिएको थियो।
पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिम क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम बढेको छ। यसअघि मुगुको भिइ केन्द्रविन्दु भएर यही चैत १० गते चार दशमलव पाँच रेक्टर स्केलको भूकम्प गएको थियो। |
‘सफा हिमाल अभियान २०२३’ को ‘फ्ल्याग–अफ सेरोमोनी’ सम्पन्न काठमाडौं । नेपाली सेनाको अगुवाईमा जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उद्देश्यले सञ्चालन हुने ‘सफा हिमाल अभियान, २०२३’ को थालनीको रुपमा ‘फ्ल्याग–अफ सेरोमोनी’ सम्पन्न भएको छ ।
प्रधान सेनापति प्रभुराम शर्माको प्रमुख आतिथ्यमा जङ्गी अड्डामा आज आयोजित विशेष समारोहका बीच सो कार्यक्रम सम्पन्न भएको छ । उक्त समारोहमा प्रधान सेनापति शर्माले गत वर्ष सम्पन्न ‘सफा हिमाल अभियान, २०२२’ मा योगदान पु¥याउने विभिन्न महानुभावलाई प्रधान सेनापति प्रशंसा निशान प्रदान गरेका थिए । साथै उनले ‘सफा हिमाल अभियान, २०२३’ का अभियान नेतृत्वकर्तालाई क्याम्यिन फ्ल्याग’ हस्तान्तरण गरी कार्य सफलताको शुभकामना व्यक्त गरे ।
समारोहमा राष्ट्रियसभाका सदस्य सोनाम ग्याल्जेङ शेर्पा, रक्षा मन्त्रालयका सचिव किरणराज शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयका सचिव सुरेश अधिकारी, बौद्ध गुरु ङवाङ लोजाङ यसी ग्याछोक रिन्पोचे, नेपाली सेनाका बलाधिकृत, बलाध्यक्ष, रथीवृन्द, वन तथा वातावरण र पर्यटनसँग सम्बन्धित विभिन्न व्यक्तित्व, नेपालस्थित विभिन्न देशका सैनिक सहचारी, पर्वतारोहण क्षेत्रका प्रतिष्ठित व्यक्तित्व तथा अभियानका साझेदार सङ्घसंस्थाका पदाधिकारीलगायतको उपस्थिति थियो ।
नेपाल सरकारको राष्ट्रिय कार्यक्रमअन्तर्गत नेपाली सेनाको अगुवाइमा सञ्चालन हुने उक्त अभियान सफल बनाउन वन तथा वातावरण मन्त्रालय, पोखरा महानगरपालिका, अन्नपूर्ण गाउँपालिका, कोकाकोला फाउण्डेशन, सूर्य नेपाल प्रालि, युनिलिभर नेपाल, संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम, विश्व वन्यजन्तु कोष, नेपाल पर्वतारोहण सङ्घ, हिमालयन उद्धार सङ्घलगायत सङ्घसंस्थाको प्राविधिक सहयोग रहेको छ ।
उक्त अभियानअन्तर्गत सगरमाथा, ल्होत्से, बरुञ्चे र अन्नपूर्ण हिमालबाट करिब ३५ टन फोहर सङ्कलन गर्ने लक्ष्य लिइएको छ । नेपाली सेनाले विभिन्न सरकारी तथा गैर सरकारी सङ्घसंस्थासँगको समन्वय र सहकार्यमा सन् २०१९ देखि सफा हिमाल अभियान सञ्चालन गर्दै आएको छ । विश्व वातावरण दिवस ९जुन ५० मा समापन हुने उक्त अभियानले विश्वव्यापी चुनौतीको रुपमा रहेको वातावरणीय प्रदूषण तथा विश्व तापमानको असरलाई केही हदसम्म न्यून गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । |
भारतमा भीरबाट लडेर एक नेपाली मजदुरको मृत्यु दार्चुला । भारत उत्तराखण्ड राज्यको धारचुला तहसिल अन्तर्गतको छिरकिलामा मजदुरी गर्न पुगेका नेपाली कामदारको मृत्यु भएको छ ।
सोमबार मजदुरी गर्ने क्रममा भीरमा खसेर बैतडी जिल्ला डिलाशैनी गाउँपालिका–६ का ३० वर्षीय कालुराम ओडको मृत्यु भएको भारतीय प्रहरीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार मजदुरीका क्रममा मृत्यु भएका नेपाली कामदारको धारचुलास्थित चिकित्सालयमा शवको पोस्टमार्टम गरी शव मंगलबार बैतडी पठाइएको हो ।
मजदुरीका क्रममा मृत्यु भएका हुनाले निर्माण कम्पनीले उनको परिवारलाई ५ लाख भारतीय रुपैयाँ सहयोग दिएको बुझिएको छ । |
ओलीले गरे गुल्मीमा सडक उद्घाटन गुल्मी। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘आफ्नो गाउँ आफैँ बनाऊँ’ भन्ने नारासँगै विकासको अभियान सुरु भएको बताएका छन्। उनले यो अभियानसँगै ग्रामीण क्षेत्रमा विकासका कामले गति लिएको धारणा व्यक्त गरे।
गुल्मीको छत्रकोट गाउँपालिका–४ अन्तर्गत पिपलनेटा, धरमपानी, मानकोट, दौघा, हुँदै अर्घाखाँचीको फर्सा टाकुरा जोड्ने सडकखण्ड उद्घाटनका अवसरमा आयोजित कार्यक्रममा उनले एमाले सरकार हुँदा नागरिकले आशा गर्न लायक थुप्रै विकास निर्माणका काम सुरु गरेको बताए।
अध्यक्ष ओलीले एमाले देशको विकास निर्माणमा जनतासँग रहेको भन्दै सञ्चालित योजनालाई पूर्णताः दिन आफूहरुको सहयोग रहने प्रतिबद्धता जनाए।
उक्त सडक प्रदेश समपूरक कोषअन्तर्गत रु दुई करोड तीन लाख ८० हजार लागतमा पुष्पाञ्जली शङ्कर जेभी तम्घासले निर्माण गरेको छत्रकोट गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले बताए।
गुल्मी, पाल्पा र अर्घाखाँची जोड्ने १७ किलोमिटर सडकखण्डअन्तर्गत पहिलो चरणमा पिपलनेटा घडेरीटोला खण्ड कालोपत्रे गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर पुनले जानकारी दिए।
विसं २०४९\५० मा पहिलो ट्र्याक खोलिएको उक्त सडक छत्रकोट गाउँपालिकाभित्र रहेका आन्तरिक सडकमध्ये पहिलो कालोपत्रे सडक हो। |
बालकको शव पोखरीमा भेटिएपछि पोखरी व्यवस्थापनमा चासो पोखरा। गत फागुन ७ मा धारापानीका चार वर्षे बालक सुहान केसी बेपत्ता भए। उनको चारैतिर खोजी भयो तर बालकको शव भोलिपल्ट मात्रै नजिकको ठूली पोखरीमा भेटियो।
उक्त घटनापछि आक्रोशित स्थानीयले पोखरीको संरक्षण नहुँदा बालकको ज्यान गएको भन्दै पोखरी व्यवस्थापनका लागि स्थानीय तहलाई झक्झकाए। तारबार नगरेको, जलकुम्भी र अन्य फोहरले पोखरीका कारण बालकको मृत्यु भएको उनीहरुको बुझाइ थियो।
स्थानीयले पोखरी संरक्षणको आवाज उठाएपछि पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य घटनास्थल पुगेर जोखिममुक्त पोखरीको व्यवस्थापनका लागि आवश्यक रकम विनियोजन गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुरे। अहिले भने पोखरा महानगरपालिका–५ धारापानी मार्गमा रहेको ठूली पोखरीले भने आफ्नो स्वरुप फेर्न थालेको छ।
सोही अनुसार अहिले ठूली पोखरी संरक्षण एवम् निर्माण समिति बनाएर काम अघि बढाइएको वडा नं ५ का वडाध्यक्ष विष्णुुप्रसाद बरालले जानकारी दिए। उनले अप्रिय घटनापछि मात्र तालको संरक्षण र व्यवस्थापनका लागि पहल भएको स्वीकार्दै अब थप मानवीय क्षति हुन नदिन र पोखरीको सौन्दर्यतालाई कायम गर्न वडाले पहल गरेको बताए।
“बालकको शव पोखरीमा भेटिएपछि सबैको ध्यानाकर्षण भएको हो। अहिले जोखिममुक्त पोखरी बनाउने कार्यअघि बढेको छ”, बरालले भने। घटनापछि सामाजिक अभियन्ता अञ्जु केसीको संयोजकत्वमा पोखरी व्यवस्थापनका लागि १३ सदस्यीय समिति गठन भइ सक्रिय रुपमा काम भइरहेको जानकारी दिए।
उनका अनुसार २०६२ सालको नापी अनुसार पोखरीको क्षेत्रफल साढे १० रोपनी छ। अहिले महानगरले पोखरीमा तारबारको लागि रु नौ लाख १७ हजार रकम विनियोजन पश्चात काम अघि बढेको समितिका अध्यक्ष केसीले जानकारी दिए।
उनका अनुसार ताललाई जोखिममुक्त बनाएर सुन्दर बनाउने काम भइरहेको छ। निकट भविष्यमै थप व्यवस्थित र पर्यटकका लागि आर्कषक गन्तव्यको रुपमा विकास गर्ने लक्ष्य लिएर काम अघि बढेको उनले बताए।
“यो तालको आफ्नै महत्व छ तर यसको संरक्षण र व्यवसस्थापन तर्फ ध्यान नदिँदा एक बालकले अनाहकमा ज्यान गुमाउनु पर्यो”, नागरिक समाजका अगुवा रामबहादुर पौडेलले भने, “तालतलैया पोखरी प्राकृतिक सम्पदा हुन्, यसको बेलैमा संरक्षण र सम्वद्र्धन गरेको भए एक बालकले अनाहकमा ज्यान गुमाउनु पर्दैनथ्यो।”
पोखरी व्यवस्थापनका लागि समितिको आयोजना र पोखरा महानगरपालिकाको सहयोगमा वडा कार्यालय, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायत स्थानीयको उपस्थितमा दुई चरणमा पोखरी सफा गर्ने काम भइसकेको छ। |
नगरप्रमुख श्रेष्ठमाथि माेबिल छ्याप्ने एकजना प्रहरी नियन्त्रणमा, दुईजना फरार सिरहा। सिरहाको गोलबजार नगरपालिका प्रमुख श्यामकुमार श्रेष्ठमाथि मोबिल छ्यापेको आरोपमा एकजना पक्राउ परेका छन्। प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षबाट निस्किएर गाडी चढ्ने बेला एकजना अपरिचित व्यक्तिले केही कागजहरु दिएजस्तो गरिरहेकै बेला सँगै आएका र्को व्यक्तिले प्रमुख श्रेष्ठमाथि मोबिल छ्यापेका हो।
प्रमुख श्रेष्ठ काम विशेषले सिरहा सदरमुकाम जान गाडी चढ्ने बेलामा एउटाले कागज देखाएको र अर्कोले मोबिल छर्केको मेयरका सवारी चालक रामकेवल मण्डले बताए। उनले भने, ‘मेयर गाडीमा चढ्न खोज्दै हुनुहुन्थ्यो, म पनि गाडीभित्र पसेकोमात्र के थिएँ, त्यतिकैमा मैले सिसामा पानी आएजस्तो लागेको देखेर हत्तपत्त उत्रिएँ, एकजनालाई समाएँ र अर्को भने भाग्न सफल भयो।’
मोबिल छ्याप्नेहरुले नेपाल कम्यूनिष्ट पार्टी (बहुमत) को जनसंघर्ष परिचालन समितिको पर्चा समेत छरेको छ। पक्राउ पर्नेमा सिरहाकै नरहा गाउँपालिका- १ का साधुशरण महरा रहेको प्रहरीले जनाएको छ ।पक्राउ परेका महरालाई जिल्ला प्रहरी कार्यालय सिरहा लगिएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक टुपेन्द्र बुढाथोकीले जनाए ।
उनीहरुले छरेको पर्चामा गोलबजार नगरपालिकाका प्रमुख श्यामकुमार श्रेष्ठलाई लघुवित्तमार्फत् गरिब जनतालाई उठिवास लगाएको, मिटरव्याजीहरुलाई संरक्षण गरेको, बजारको करमा एक करोट ५२ लाख ब्रम्हलुट गरेको कारण जनकारबाही गरेकाे उल्लेख गरिएको छ।
र्चामा फर्जी कागज बनाई गोलबजार- १ मुक्सार बाटोको ६२ लाख हिनामिना गरेको, अवैधानिक तरिकाले नदिको दोहन गरेको, अन्यायपूर्ण तरिकाले नगरपालिकामा कार्यरत कर्मचारी हटाइएको र आफ्ना नेता कार्यकताविरुद्ध सुराकी गरेकोले जनकारबाही गरेको पर्चामा उल्लेख गरिएको छ।
घटनाको विषयमा बुझ्न आएका कार्यकर्ताले केहीबेर पूर्व-पश्चिम लोकमार्गमा प्रहरीविरुद्ध नाराबाजी गर्दै चक्काजाम गरेको थियो ।
सिरहामा जनप्रतिनिधिमाथि मोबिल छ्यापेको यो पहिलो घटना हो। |
सडकको पहुँचसँगै वैकल्पिक बन्यो ग्राभिटी रोपवे वालिङ। वालिङ ५ पाडेथोकका किसानले कुनै बेला आफूले उत्पादन गरेको कृषिजन्य वस्तु डोकोमा बोकेर बजारसम्म पुर्याउनुपर्ने बाध्यता थियो।
गाउँदेखि नजिकैको वालिङ बजार पुग्न पनि झण्डै दुई घण्टा पैदल हिँड्नुपर्दथ्यो। बजारसम्म पुग्न गोरेटो बाटोसमेत राम्रो थिएन सडक सञ्जाल त परेको कुरा थियो।
वालिङ बजारबाट उत्तर पूर्वी भेगमा रहेको अग्लो पहाड पित्लेक र त्यसको काखमा कृषि कर्ममा रमाइरहेको पाडेथोकमा पिउने पानीको समस्या पनि उत्तिकै थियो। सिँचाइका लागि वर्षाको पानी सङ्कलनका लागि पोखरी निर्माण गरिएका थिए । यसको समाधानका लागि खानेपानी लिफ्टिङ गरेर गाउँमा ल्याइयो।
त्यसपछि मौसमी तथा बेमौसमी तरकारी, फलफूल उत्पादनमा सहजीकरण गर्न स्थानीय किसानको अगुवाइमा जनकल्याण कृषि सहकारी संस्था स्थापना भयो। सहकारीमा आवद्ध एकसय ४२ घरधुरीमध्ये ७२ घरधुरीले व्यावसायिक तरकारी उत्पादन गर्न थाले। उत्पादन बढेसँगै बजारीकरणकोे समस्या पनि बढ्दै गयो। स्थानीयले उत्पादन गरेको कृषि उपजको बजारीकरणको सहजताका लागि विसं २०७४ मा बिना विद्युतीय ग्राभिटी रोपवे निर्माण भई सञ्चालनमा आयो।
वालिङ ५ पाडेथोक नजिकै रहेको सल्लाघारीबाट वालिङ १ त्रियासी जोड्न गरी रोपवे निर्माण भएको थियो। कृषि विकास मन्त्रालय व्यावसायिक कृषि तथा व्यापार आयोजनाको रु २४ लाख ४५ हजार र रु ३१ लाख ६० हजार बराबरको स्थानीयको जनश्रमदानमा पित्लेक–खहरे ग्राभिटी रोपवे सञ्चालन गरिएको सहकारीका व्यवस्थापक हुमनाथ लामिछानेको भनाइ छ।
सल्लाघारीदेखि खहरेसम्म आठ सय ५४ मिटर लम्बाइको रहेको विना विद्युतीय ग्राभिटी रोपवेको भारवहन क्षमता एकसय २० किलोको छ। माथिल्लो स्टेशनबाट एकसय २० किलो तौल तल्लो स्टेशनमा पठाउँदा तल्लो स्टेशनबाट ३० किलोको तौल माथिल्लो स्टेशनसम्म पठाउन सकिन्छ।
“यहाँका व्यावसायिक किसानले उत्पादन गर्नुभएको मौसमी तथा बेमौसमी तरकारी, फलफूल ढुवानीको भरपर्दो माध्यम रोपवे बन्यो”, उनले भने, “रोपवेको विकल्प थिएन, सस्तो र सहज थियो तर पछिल्लो एकवर्ष गाउँसम्म आउने बाटो कालोपत्र भई सडक सञ्जालले जोडिएपछि रोपवे वैकल्पिक साधनकोरुपमा प्रयोग थालेको छ।”
गाउँबाट वालिङ तथा आसपासका अन्य बजारमा गाडी जाने र सोही गाडीमा यहाँका किसानले उत्पादन भएको कृषिजन्य उपज पठाउने गरेका छन्। “सल्लाघारीसम्म बोकेर पुर्याउनुपर्ने र त्यहाँबाट लोड गरी र तल्लो स्टेशनबाट फेरि लोड गरी सम्बन्धित व्यापारीकहाँ पुर्याउनुपर्ने अवस्था थियो”, उनले भने, “अहिले घरैबाट सवारीधनीहरुले उठाएर लगिदिने र आफैले बजारमा चलेको मूल्यअनुसार बिक्री गरी साँझ घरमै पैसा ल्याई बुझाइदिने गरेकाले अहिले यहाँका किसानलाई निकै सहज भएको छ।”
रोपवेमार्फत ढुवानी गर्दा प्रतिकेजी रु एक शुल्क लिने गरिएको थियो। गाडीबाट ढुवानी हुन थालेपछि गत एक वर्षदेखि रोपवे खासै प्रयोगमा आएको छैन। प्रयोगमा नआए पनि ढुवानी गर्ने वैकल्पिक साधनकोरुपमा समय–समयमा मर्मत सम्भार कार्य भने निरन्तर भइरहेको व्यवस्थापक लामिछानेको भनाइ छ।
पाडेथोकका व्यावसायिक किसान यज्ञप्रसाद लामिछानेले अहिले गाउँबाटै बजार जाने गाडीमार्फत कृषि उपज ढुवानी गर्छन्। सवारी धनीले घर–घरबाटै कृषि उपज उठाएर बजार लैजाने र बिक्री गरेर हिसाब घरमै ल्याएर बुझाइदिने गरेकाले सहजता भएको उनले बताए।
“गाउँबाट बिहानमा दैनिक दुईवटा जीप वालिङ तथा आसपासका बजारमा जान्छन्”, उनले भने, “गाडीधनीले हामीले घर–घरमा तौलेर राखेका कृषि उपज बजार लैजान्छन् र चलनचल्तीको मूल्यमा बिक्री गरी साँझ आएर हिसाब दिन्छन्, त्योबापत प्रत्येक किसानले प्रतिकेजी रू दुई ढुवानीबापत दिन्छौंँ।”
गाउँबाट बजारसम्म जाने गाडीलाई आम्दानी पनि र किसानलाई सहजता पनि हुने गरेको छ। “कोही ब्यापारीले माग गरेमा गाडीवालाले त्यहाँसम्म पनि सोही मूल्यमा ढुवानी गरिदिन्छन्”, उनले भने, “नभए उनीहरुले जहाँ पनि बिक्री गरेर हामीलाई हिसाब दिन्छन्, झट्ट हेर्दा कृषि एम्बुलेन्सको काम भएको छ।”
मौसमी तथा बेमौसमी गोलभेडा, तरकारी, सुन्तला, कागती लगायतका कृषिजन्य उत्पादन गरी गाउँमा करोडौँ आम्दानी भित्रिने गरेको छ। धेरै लामो समयदेखि ठूलो सङ्ख्यामा यहाँका किसानले व्यावसायिक रुपमा तरकारी तथा फलफूल उत्पादन गर्दै आएका छन्। यहाँको मुख्य आम्दानीको स्रोत नै मौसमी तथा बेमौसमी तरकारी र फलफूल रहेको जनकल्याण कृषि सहकारी संस्थाका अध्यक्ष नीलकण्ठ लामिछानेले बताए। – रासस |
आन्तरिक पर्यटक तान्दै चरिङ्गे दह दाङ। घोराही उपमहानगरपालिका–१ मा अवस्थित पर्यटकीयस्थल चरिङ्गे दहको मनमोहक दृश्यले त्यहाँ अवलोकन गर्न जाने आन्तरिक पर्यटकलाई लोभ्याउने गरेकोे छ। कुनै समयमा निकै सुनसान रहने गरेको उक्त दहमा अहिले दैनिकजसो अवलोकनका लागि आन्तरिक पर्यटक आउने गरेका छन्। यस दहले पर्यटकलालाई आकर्षण गर्न सफल भएको स्थानीयको भनाई छ।
वरिपरि घनाजङ्गलले घेरिएको यो दहले पर्यटकहरुको मन जित्दै गएको छ। दहमा विशेषगरी शनिबार र बिदाका दिन पिकनिक खान तथा घुमफिर गर्न जानेहरुको चहलपहल हुन्छ। केही वर्षपहिले यस दहको बारेमा सुइँको पनि सुनिँदैन थियो, न त दह हेर्न लायक नै थियो । सानो पोखरीमा मात्रै सीमित ‘चरिङ्गे’ अहिले ठूलो दह बनेको छ, स्थानीयवासी कमला पोख्रेलले भने। उनले थपे, “चरिङ्गे दहलाई पर्यटकीय क्षेत्रका रुपमा विकास र संरक्षण गर्नुपर्छ भन्ने स्थानीयवासीको सोच र प्रयासकै कारण यो पोखरी अहिले दहमा परिणत भएको हो।
दह संरक्षण र पर्यटकीय क्षेत्र बनाउन भन्दै स्थानीयवासीले सुरुमा संरक्षण समिति गठन गरे। सोही समितिले दह संरक्षणका लागि विभिन्न निकायसँग आर्थिक सहयोग जुटाउनाका साथै जनश्रमदानका लागि स्थानीयवासीमा उत्प्रेरणा जगाउने काम गरे पनि पछिल्ला वर्षमा स्थानीय सरकारले त्यति चासो नदिँदा पूर्वाधार निर्माणले गति लिन नसकेको स्थानीयवासी थानेश्वर पुनले भने।
“पर्यटकीय क्षेत्रका रुपमा परिचित यो दह स्थानीयवासीको अथक परिश्रम र मेहनतले यहाँसम्म आएको हो तर स्थानीय सरकारले भने यसलाई त्यति चासो दिएको छैन”, उनले भने। दह अहिले आन्तरिक पर्यटकका लागि आकर्षक र सुन्दर ठाउँ बन्न पुगेको छ। ‘दह अवलोकन गर्न पुग्नुभएका तुलसीपुर निवासी लिला सापकोटाले चारैतिर वनजङ्गल तथा शान्त ठाउँमा रहेको दहको मनोरहम दृश्यले सबैलाई लोभ्याउने उल्लेख गरे।
उनले भने, “अष्ट्रेलियामा अध्ययनरत आफ्नी छोरी पाँच वर्षपछि घरमा आएको मौका छोपी सपरिवार यहाँ घुम्न आएका हौँ। दह रमणीय ठाउँमा रहेछ तर पूर्वाधार विकास भने भएको रहेनछ।”
दहसम्म पुग्ने बाटो पक्की र त्यहाँ नजिकमा चमेना गृह, खानेपानीको उचित प्रबन्ध, दहको वरिपरि पर्खाल र त्यहाँ केही उत्खनन गरेमा पर्यटकलाई सहज हुने र बाह्य पर्यटक पनि तान्न सकिने सापकोटाको भनाइ थियो। दह संरक्षण र विकासकै लागि शुल्क लिने गरिएको स्थानीयवासीले बताए। उनीहरुका अनुसार बीच जङ्गलमा गुप्प परेको चरिङ्गे दह अहिले फराकिलो भएको छ । दह वरिपरिको झाडी फालिएको छ।
त्यसैगरी पिकनिक स्पट निर्माण गर्नाका साथै दहको उत्तरतर्फ एउटा मन्दिरसमेत बनाइएको छ। दहको उत्तरीतर्फ रहेको डाँडोबाट दहमा झरेको माटो फालेर चौडा पारिएको छ। उक्त डाँडोबाट खसेको माटोले दहको क्षेत्रफल साँघुरो बनाएकामा स्थानीयवासीले नै श्रमदान गरी केही वर्षपहिले माटो फालेपछि अहिले तीन हेक्टर क्षेत्रफलमा दह फैलिएको छ।
दह संरक्षण समितिका संयोजक कमल पोख्रेलले दह संरक्षणका लागि यहाँका बासिन्दाको धेरै श्रमदान र विभिन्न सरकारी निकायबाट आर्थिक सहयोग प्राप्त भएकोे जानकारी दिए। पछिल्ला वर्षमा भने स्थानीय सरकारले दहको संरक्षणका लागि खासै चासो नदिएको उनको गुनासो थियो।
गत वर्ष जिल्ला वन कार्यालयले उपलब्ध गराएको रु २० लाखले दहको चारैतिरको भागमा पर्खाल लगाइएको थियो तर यस वर्ष घोराही उपमहानगरपालिकाले दहसम्म पुग्ने बाटो पक्की गर्नका लागि बजेट विनियोजन गरेको भन्ने सुन्नमा आए पनि कति बजेट र कहिलेबाट काम सुरु गर्छ भन्नेबारेमा कुनै जानकारी नभएको संयोजक पोख्रेलले बताए।
दहलाई जिल्लाकै पर्यटकीयस्थलका रुपमा विकास गर्न सबैको सहयोग अति आवश्यक रहे पनि बजेट अभावका कारण अति आवश्यक पूर्वाधार निर्माण गर्न पनि नसकिएको उनले बताए।।
यसअघि दह संरक्षणका लागि साबिक जिल्ला विकास समिति, नेपाल पर्यटन विकास बोर्ड, चरिङ्गे दह सामुदायिक वन समूह र त्यहाँ रहेका पाँचवटा महिला समूहले पनि दह संरक्षणका लागि सहयोग जुटाएका थिए। दह संरक्षणका लागि जुटेका रामपुर–६ र ७ का जनताले दहलाई नै आयस्रोतको गतिलो माध्यम बनाउन केही समयअघि व्यावसायिकरुपमा माछा पालन पनि गरेका थिए।
तीन वर्षअघि एक याममा दहमा गरिएको माछापालनबाट रु एक लाख आम्दानी भएको उनीहरुले बताए। उक्त दह सदरमुकाम घोराहीदेखि करिब १५ किलोमिटर पूर्व उत्तरमा पर्छ। |
बिजुलीबजारस्थित पुलमुनिको सडकको ठेक्का तोड्ने तयारी काठमाडौँ। निर्माण सुरु भएको दुई वर्ष बित्न लाग्दासमेत प्रगति न्यून रहेको बिजुलीबजारस्थित पुलमुनिको सडकको ठेक्का तोड्ने तयारी अघि बढाइएको छ। सडक वारपार गर्न बनाइएको पुलमुनिको सडक निर्माण सुरु भएको दुई वर्षमा प्रगति जम्मा १४ प्रतिशत मात्रै छ।
निर्माणमा ढिलाइ भएको कारण देखाउँदै निर्माण व्यवसायीको घरमा सूचना टाँस्नाका साथै ठेक्का तोड्न केही समय दिइएको काठमाडौँ उपत्यका विकास प्राधिकरणका इञ्जिनीयर सज्जन कुँवरले बताए। “निर्माण कम्पनीको कामको मूल्याङ्कन भइरहेको छ,” उनले भने, “मूल्याङ्कन सकिएपछि नै ठेक्का तोडिनेछ।”
विसं २०७८ जेठमा एक वर्षमा सम्पन्न गर्ने गरी सो सडक निर्माणका लागि सम्झौता भएको थियो। वारिपारि दुबैतर्फ पुलमुनिको भागमा ढलान गर्ने गरी ठेक्का भए पनि काम सम्पन्न नभएकाले गत जेठमा तीन महिनाका लागि अवधि थप भएको इञ्जिनीयर कुँवरले बताए।
“तीन महिनामा पनि काम राम्रो हुन नसकेपछि अवधि थप नभएकाले ठेक्का तोड्न प्रक्रिया अघि बढाइएको छ,” उनले भने, “अहिलेसम्म काम राम्रो भइरहेको छैन। व्यावसायीले अहिलेसम्म काम नै नगरेको पाइएकाले ठेक्का तोड्न लागिएको हो।” निर्माण कम्पनीले काम नगरेकाले कालोसूचीमा राख्न सूचना पनि निकालिएको इञ्जिनीयर कुँवरले बताए।
पुलमुनि दुबैतर्फ काम गर्नेगरी ठेक्का सम्झौता गरिएकामा वडा नं २९को बानेश्वरतर्फ स्थानीयवासीले खोला सार्न नदिने भनेकाले काम नसकिएको उनले जानकारी दिए। स्थानीयवासीबाट अवरोध र निर्माण व्यवसायीले पनि काम नगरेकाले निर्माण अलपत्र नै रहेको छ।
बबरमहलतर्फ भने ग्राभेल गरेर ढलान गर्नुपर्ने भए पनि काम भएको छैन। बाटो खुलाइसकेको भए पनि थप काम अघि नबढेकाले यो ठेक्का तोडिसकेपछि नयाँ ठेक्काबाट निर्माण अघि बढाइने इञ्जिनीयर कुँवरले जानकारी दिए। सो सडकको निर्माण सक्सेस कन्स्ट्रक्सन एण्ड बिल्डर प्राइभेट लिमिटेडलाई दिइएको थियो।
धोबीखोला करिडोर निर्माण गर्दा ठाउँठाउँमा पुल निर्माण हुँदासँगै पुलमुनि सडक खुलाइएको थियो। क्रसिङको काम गर्ने यी पुलमुनिको सडक वर्षामा पानी जमेर नियमित सञ्चालन हुन कठिन भए पनि अरु समयमा मुख्य सडकको चाप कम गरिरहेका छन्।
धोबीखोला पुलमा फरक फरक रङ्ग लगाइएको छ । फरक रङ्गका आधारमा ठाउँको समेत नाम रहन गएको छ। त्यसअघि हनुमानस्थानमा सिम्रिक पुल, मैतीदेवीमा सेतो पुलका साथै त्यहाँभन्दा माथि चवहिलसम्म रातो पुल, कालो पुल, पहेँलो पुल (पहिलेको भत्केको पुल) र बैजनी पुल निर्माण भएर पुलमुनिका सडक समेत सञ्चालनमा छन्। |
बेदकोटमा पन्ध्र शय्याको अस्पताल भवन निर्माण हुँदै कञ्चनपुर। सर्वसाधारणलाई स्थानीयस्तरमै स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि बेदकोट नगरपालिकामा पन्ध्र शय्याको अस्पताल भवन निर्माण अगाडि बढाइएको छ।
नगरपालिकाको वडा नं ३ मा रु नौ करोड ७४ लाखको लागतमा अस्पताल भवन निर्माण हुन लागेको हो। अस्पताल भवन निर्माणका लागि राजेन्द्र निर्माण सेवा कम्पनीलाई जिम्मा दिइएको छ। निर्माण कम्पनीसँग अस्पताल निर्माणका लागि दुई वर्षअघि ठेक्का सम्झौता भएको थियो। ठेक्का सम्झौता भए पनि साइड क्लियर नहुँदा निर्माण ढिलो गरी सुरु भएको छ। नगरप्रमुख भोजराज बोहराले अस्पताल निर्माण अगाडि बढेको बताए।
“अस्पताल निर्माणका लागि ठेक्का सम्झौता भए पनि आवश्यक जग्गाको व्यवस्थापन नहुँदा कार्य अगाडि बढ्न सकेको थिएन”, उनले भने, “जग्गा व्यवस्थापन गरी निर्माण व्यवसायीलाई तोकेता गर्यौँ, साइड क्लियर भएपछि निर्माण अगाडि बढेको छ।”
उनका अनुसार अस्पताल निर्माणका लागि शारदा माध्यमिक विद्यालयले सात कठ्ठा, सामुदायिक वनले पाँच कठ्ठा गरी १२ कठ्ठा जग्गा उपलब्ध गराएको छ। अस्पतालका लागि दुईवटा भवन, चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारीका लागि आवासीय भवन निर्माणका लागि योजना निर्माण गरिएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमराज भट्टका अनुसारे दुई वर्षभित्रै निर्माणकार्य सक्ने गरी विसं २०७७ मा ठेक्का सम्झौता भएको थियो।
अस्पताल निर्माण भई सञ्चालनमा आएपछि यस क्षेत्रका बासिन्दाले चिकित्सकीय सेवा लिनका लागि महेन्द्रनगर र भारततर्फ जानुपर्ने झन्झट हटेर जाने बताइएको छ। नगरपालिकामा हालसम्म दुईवटा स्वास्थ्यचौकी, दुईवटा चौबीस घण्टे बर्थिङ सेन्टर र १० आधारभूत स्वास्थ्य केन्द्र सञ्चलनमा छन्। |
तनहुँका सरकारी विद्यालयमा पढाउने परिवारलाई निः शुल्क स्वास्थ्य बीमा तनहुँ । जिल्लाको आँबुखैरेनी गाउँपालिकाले सरकारी विद्यालयमा छोराछोरी पढाउने परिवारलाई निःशुल्क स्वास्थ्य बीमाको सुविधा प्रदान गर्ने भएको छ । यसअघि गाउँपालिकाले सिफारिस दस्तुरमा ३० प्रतिशत छुट दिँदै आएको थियो ।
गाउँपालिकाले जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्य सरकारी विद्यालयमा पठनपाठन गराउने निर्णय गरेको थियो । गाउँपालिकाको वडा नं ४, ५ र ६ का सरकारी विद्यालयमा पढाउने परिवारलाई निःशुल्क स्वास्थ्य बीमाको सुविधा दिन लागिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए।
“पहिलो चरणमा दुर्गम क्षेत्रका बासिन्दालाई प्राथमिकता दिन लागेका हौं”, उनले भने, “स्वास्थ्य बीमा गरेपछि नागरिकले रु एक लाख बराबरको निःशुल्क उपचार सेवा लिन सक्नेछन् ।”
स्वास्थ्य बीमा गर्दा प्रतिपरिवार रु तीन हजार पाँच सय शुल्क लाग्ने छ । स्वास्थ्य बीमा गरेपछि साथमा पैसा नहुँदा दुर्गम र गरिब परिवारले सहजरूपमा उपचार पाउने विश्वास गरिएको छ ।
सामुदायिक विद्यालय सुधार अभियानअन्तर्गत आबुखैरेनीले बाल विकासदेखि कक्षा ५ सम्मका छात्रछात्रालाई निःशुल्क ट्रयाकसुट, झोला, जुत्ता–मोजा तथा टिसर्टलगायका सामग्री वितरण थालेकोे अध्यक्ष चुमानले जानकारी दिए ।
यसैगरी विद्यालय भवनमा गर्नुपर्ने सम्पूर्ण मर्मत, छाना, फ्लोरिङ, रङरोगन, डेस्क–बेन्च फेर्नेलगायतका कार्य यसै चैत मसान्तसम्म सम्पन्न गर्ने गरी काम थालिएको छ । कक्षा नर्सरीदेखि कक्षा २ सम्म स्मार्ट टिभी राखी सिकाइ सहजको व्यवस्था मिलाइने, घन्टौँ हिँड्नुपर्ने केही विद्यालयलाई स्कुलबस हस्तान्तरण गरी समस्या समाधान गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए ।
त्यसैगरी विषयगत पर्याप्त दरबन्दी पठाउन गाउँपालिकाबाट नै आफ्नै स्रोतमा शिक्षक परिचालनका लागि आबुखैरेनी क्याम्पसका युवा परिचालन गर्ने तयारी थालिएको छ । सामुदायिक विद्यालयको निरन्तर अनुगमन गरी गुणस्तरीय शिक्षामा योगदान गर्ने विद्यालयलाई प्रोत्साहन गर्नेलगायतका कार्यक्रम रहेको उनले बताए । |
च्यास्मिटार–डिकुवा–कुर्लेघाट सडक कालोपत्रे हुने खोटाङ। खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको ‘च्यास्मिटार–डिकुवा–कुर्लेघाट’ सडक कालोपत्रे हुने भएको छ। हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारबाट हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा हुँदै हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको वडा कार्यालय पुग्ने साँढे १० किलोमिटर सडक कालोपत्रे हुने भएको हो।
तीन वडालाई जोड्ने सडक कालोपत्रे योजना सोमबार हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राईले शिलान्यास गरेका छन्। सडक विभागको २७ करोड ४ लाख ७५ हजार बजेटमा तीन वर्षमा सक्नेगरी फेवा पोखरा कन्स्ट्रक्सनले २०७९ पुष २० सडकको ठेक्का सम्झौता गरेको छ । कालोत्रे सडक ड्रेन सहित नौ मिटर चौडा हुने निर्माण कम्पनीले जनाएको छ।
मध्यपहाडी लोकमार्ग अन्तरगत च्यास्मीटारबाट सुरु हुने सडकलाई निर्धारित समयमै सम्पन्न गराउनका लागि समन्वय, सहजीकरण र खबरदारी गरिने मेयर राईले बताइन्। ‘च्यास्मिटार–डिकुवा–कुर्लेघाट’ सडक नगरपालिकाभित्रको कालोपत्रे गर्न लागिएको पहिलो शाखा सडक हो। यसकारण यस सडक कालोपत्रे योजनालाई उत्साह र महत्वका साथ हेरिएको छ। |
पहिलेको गाउँ, अहिलेको बजार अक्षते बागलुङ । अक्षते पहिलेको गाउँ, अहिलेको बजार। वरपर खेतीयोग्य जमिन। जिल्ला सदरमुकाम बागलुङ बजारबाट सबैभन्दा नजिकको बजारका रूपमा लिइने अक्षते पछिल्लो एक दशकमा यसको मुहार नै बदलिएको छ।
राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गमा पर्ने अक्षते ग्रामीण क्षेत्रको व्यापारिक केन्द्रजस्तै हो। खासगरी काठेखोला गाउँपालिकाअन्तर्गतका गाउँ यही बजार हुँदै जानु पर्छ। त्यसले गर्दा यहाँ व्यापार व्यवसाय पनि राम्रो हुने गरेको पाइन्छ।
विसं २०५४ मा सडकले जोडिएको अक्षते बजारमा लामो समयसम्म बस्ती विस्तार हुनसकेको थिएन। पछिल्लो आधा दशकमा यहाँ घर भवन बन्ने र बजार विस्तार तीव्रगतिमा भएको छ। कुनै बेला दैनिक उपभोग्य सामान किनमेल गर्न टाढा–टाढा पुग्ने स्थानीय अहिले घरमै पाउँछन्। अहिले अक्षते बजार काठेखोला गाउँपालिकाको पाला, भीमापोखरा, बिहुँ, तङ्ग्राम, धम्जालगायतका गाउँका स्थानीयको नजिकको बजार बनेको छ।
गाउँमा सडक सञ्जाले जोडिन थालेपछि यस ठाउँमा चहलपहल बढ्न थालेको स्थानीय ५६ वर्षीय तोरणध्वज मल्लले बताए। उनले एक दशक अगाडिसम्म अक्षतेमा दुई–चारवटा घरमात्रै रहेकामा अहिले दिनप्रतिदिन बढ्दै गएको सुनाए। साढे दुई दशक पहिले यो ठाउँ सडक सञ्जालले जोडिए पनि पूर्वाधारका हिसाबले पछाडि परेको भन्दै अहिले सबै किसिमका सेवा–सुविधा थपिँदै गएपछि बस्तीसमेत विस्तार हुँदै गएको मल्लको भनाइ छ।
उदयमान सहरका रूपमा विकास हुँदै गएको अक्षतेलाई व्यवस्थापन गर्न अहिलेदेखि नै लाग्नुपर्ने बताउँछन्। ढल व्यवस्थापन, नक्सा पासलगायतका कामको सुरुआत गर्नुपर्ने उनको भनाइ छ। अहिले बजार व्यवस्थापनका खाका नकोरे पछि समस्या आउने मल्ल बताउँछन्। खानेपानी, स्वास्थ्य, शिक्षालगायतका क्षेत्रमा पनि सरकारले काम गर्न बाँकी रहेको उनी सुनाउँछन्।
“अक्षते पहिलेको तुलनामा धेरै परिवर्तन भएको छ, यहाँ सडक आएपछि मात्रै विकासको सुरुआत भएको हो, सडक नआउनुभन्दा पहिले यहाँका मान्छे नुन– तेल ल्याउन पर्वतको कार्कीनेट पुग्थे, एक दिनमै गएर आउन गाह्रो पथ्र्यो, बागलुङ बजारमा पनि गाडी आइसकेको थिएन”, मल्लले भने, “अहिले त पहिलेको जस्तो समस्या छैन, सबै सेवा–सुविधा घरै अगाडि आएका छन्, यहाँ नपाएको सुविधा आधा घण्टामै बागलुङ बजारमा पुगेर लिन सकिन्छ।”
स्थानीय तलबहादुर पुनले अक्षतेमा सेवा–सुविधा बढ्न थालेपछि ग्रामीण क्षेत्रबाट झरेर बसाइँ गर्न थालेको बताए। पहिले यस ठाउँ खेतीयोग्य जमिन रहेको सुनाउँदै अहिले बजारका रूपमा विकास भएको पुनको भनाइ छ। सबैभन्दा पहिले यहाँ एसियाली विकास बैंक (एडिबी)ले सडक खुलाएको भन्दै पछि सरकारले मध्यपहाडी लोकमार्ग बनाएपछि अक्षतेले मुहार फर्दै गएको बताए।
उनले भने, “अहिले जुन बजार बन्दै गरेको ठाउँ छ, यहाँ खेतीपाती हुन्थ्यो, धान, गहुँ र मकै फल्थ्यो, पछि–पछि बस्ती विस्तार हुँदै गएपछि खेतीयोग्य जमिनमा घर–भवन बन्न थाले, अहिले धेरै परिवर्तन भएको छ यो ठाउँ, पहिले सडक साँघुरो थियो, अहिले हिलो धुलो भए पनि अलि फराकिलो भएको छ, सडक कालोपत्र गर्ने काम पनि हुँदैछ।”
काठेखोला गाउँपालिकाका प्रवक्ता टीकासङ्गम विकले गाउँपालिकाले बजार क्षेत्रमा ढल व्यवस्थापनका लागि योजना बनाएको बताए। घर भवन निर्माण लागि मापदण्डसमेत लागू गर्ने तयारीमा रहेको भन्दै जग्गा वर्गीकरण पनि गरिरहेको बताए। पालिकाअन्तर्गत पर्ने बजारमा दीर्घकालीन व्यवस्थापन गर्ने गरी पालिकाले योजनाको सुनाए।
“गाउँ तथा बजार सबैतिर पालिकाले धेरै काम गर्नुपर्ने छ, अक्षते बजार काठेखोला गाउँपालिकाको मुख्य बजार रहेको हुँदा यहाँको सौन्दर्यकरणदेखि फोहर व्यवस्थापन, ढललगायत अन्य व्यवस्थापकीय पक्षलाई के–कसरी सुधार गर्न सकिन्छ र दीर्घकालीन हुनसक्छ भनी अध्ययन गरेका छौँ”, उनले भने, “अब विस्तारै यहाँको विकास र व्यवस्थापका काम हुँदै जाने छन्।” – रासस |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.