content
stringlengths
20
64.1k
महोत्तरीमा बलात्कारका घटना बढ्दै, पारिवारिक सदस्यबाटै बालिकाहरू असुरक्षित महोत्तरी । ८ मंसिर २०७७ को बिहानै ७ वर्षीया बालिका गुलावसा खातुन घर नजिकै मृत अवस्थामा भेटिइन् । तीन दिनदेखि हराइरहेकी खातुनको बर्दिबास नगरपालिका–१४ को सुभम बस्तीमा मृत अवस्थामा भेटिएपछि निकै खैलाबैला भयो । उनको शवलाई हेर्दा बलात्कारपछि हत्या गरेको धेरैले अनुमान गरे । प्रहरीले शंंकाका आधारमा बर्दिबासका अरुण साहलाइ पक्राउ ग¥यो । पक्राउपछि पारम्भिक अनुसन्धानमा नै बालिकालाई बलात्कारपछि हत्या गरेको साहले स्वीकार गरेपछि अहिले जेल जीवन भोगिरहेका छन् । अवोध बालिकालाई बलात्कारपछि हत्या गरेको आक्रोशमा स्थानीयहरूले आन्दोलन गर्दा प्रहरीको गोली लागेर एक जनाको ज्यान समेत गएको थियो । अहिले अरुण साहको घरलाई समेत स्थानीयहरूले नियन्त्रणमा लिएका छन् । घटनालगत्तै आक्रोशित स्थानीयले लगाएको आगोले जलेको धरमा अहिले पनि लेखिएको छ–यो घर अपराधीको घर हो, यसलाइ कसैले किन्ने कोसिस नगर्नुहोला ।’ बालबालिका र अपांग महिलासमेत बलात्कृत भएका छन् । १६ जेठ २०७७ मा आफ्नै घरअगाडि खेलिरहेकी ६ वर्षीय नाबालिकालाई दाजु नाता पर्ने १४ र १२ वर्ष उमरेका दुईजनाले बलात्कार गरेको घटना बाहिरियो । बालिकालाई बाँसको मचानमा बलात्कार गरेको भन्दै पीडित पक्षले दुवैजनाविरुद्ध उजुरी दिए । सोही वर्ष भदौमा रामगोपालपुरमा यस्तै अर्को घटना भयो । बोल्न नसक्ने महिला राति शौच गर्न बाहिर निस्केका बेला सामूहिक बलात्कारको शिकार भइन् । उक्त घटनामा सग्लन दुई जनालाई पक्राउ गरेर छानबिन गर्न प्रहरीले महिनौँ लगाएको आरोप लागेको थियो । स्वास्थ्य जाँच र महिलाको अवस्थालाई हेर्दा उनलाई यातना दिएर बलात्कार गरेको प्रहरीले नै निष्कर्ष निकालेको थियो । त्यसयता महोत्तरीमा ६० वटा बलात्कार घटना भएका छन् भने पछिल्लो ६ महिनामा २२ वटा बलात्कारका घटना भएका छन् । यसमध्ये नाबालिगमाथि भएका बलात्कारका घटना आधा दर्जन रहेका छन् । सार्वजनिक भएका घटनाहरूलाइ आधार मान्ने हो भने बर्दिबास नगरपालिकामा सवैभन्दा बढी बलात्कारका घटनाहरू भएको देखिएको छ । परिवारभित्रका दाइ, काकालगायत परिवारका सदस्यबाटै बलात्कारका प्रयास भएका छन् । वर्दिबास क्षेत्रमा नै गत १५ चैतमा आफ्नै बुबाले १३ वर्षीया छोरीलाई बलात्कार गरेर गर्भवती बनाएको घटना सार्वजनिक भएको थियो ।  आमा नभएको मौका छोपेर छोरीमाथि पटक–पटक बलात्कार गरेको र छोरी गर्भवती भएका थाहा पाएपछि बुबा फरार भए । शारीरिक र मानसिक तनाव दिएर जेठी छोरीलाई जबरजस्ती गर्दै आएका बुबालाई प्रहरीले खोजी गरिरहेको छ भने गर्भवती बनेकी बालिकाको थापाथलीस्थित ओसीएमसीमा राखेर स्वास्थ्य उपचार भइरहेको छ । यातनाबाट विक्षिप्त बनेकी बालिकालाई ओसीएमसीमा राखेर स्वास्थ्य उपचारका साथै सामाजिक परामर्श समेत दिइएको छ । यस्तै प्रकृतिको अर्को घटना पनि बाहिरिएको छ । घरपरिवारले दिएको उजुरीको आधारमा प्रहरीले बर्दिबास–३ वाट अर्का बुबालाई पक्राउ गरेको छ । गत २३ चैतमा इलाका प्रहरी कार्यालय बर्दिबासले पक्राउ गरि थप अनुसन्धानलाई अगाडि बढाइरहेको छ । प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा आफ्नै छोरीलाई बलात्कार प्रयास गरेको खुल्न आएको छ । पटकपटक बलात्कारको प्रयास गर्न खोजेपछि प्रहरीलाई खबर गरिदिएको छिमेकीहरूले बताए । ‘प्रारम्भिक बयानमा श्रीमती बाहिर निस्केको मौका छोपी वलात्कारको प्रयास गर्ने रहेछ, ’ प्रहरी नायव उपरीक्षक विजय यादवले भने । उजुरी दर्ता भएको तर जाहेरी भने अहिलेसम्म आएको छैन । आफ्नै घरमा समेत छोरीहरू कति धेरै असुरक्षित छन् भन्ने विषय पछिल्ला यी घटनाले प्रतिनिधित्व गरेका छन् । यी घटना त १५ दिनको अवधिमा सार्वजनिक भएका प्रतिनिधि मात्र हुन् । पछिल्लो ६ महिनाको अवधिमा मात्र २२ वटा जबरस्ती करणीका घटनाहरू भएको प्रहरीको तथ्यांक छ । तथ्यांकअनुसार १६ वर्षभन्दा कम उमेर भएका १० जना बालिकाहरू, १६ देखि २५ वर्षका ७ जना, २५ देखि ३५ वर्षका २ जना र ३६ देखि ४५ वर्षका २ जनामा बलत्कारका घटनाहरू भएका छन । पछिल्लो ६ महिनाको अवधिमा सबैभन्दा बढी गौशाला नगरपालिकामा जबरजस्ती करणी र जबरजस्ती करणीको उद्योगका घटनाहरू भएका छन् । गौशाला नगरपालिकामा ५ वटा, जलेश्वर नगरपालिकामा ३, बर्दिबास नगरपालिकामा ३ वटा, सोनामा गाउँपालिकामा ३ वटा, मनरासिस्वामा ३ वटा, पिपरामा २ वटा र सम्सी गाउँपालिकामा १ वटा घटना भएका प्रहरीले जनाएको छ ।
सेती खोँचमा खसेकी बालिकाको साढे दुई घण्टापछि उद्धार कास्की। पोखराको सेती नदीको खोँचमा खसेकी बालिकाको साढे दुई घण्टापछि उद्धार भएको छ। शनिबार दिउँसो खेल्दै गर्दा पोखरा ८ नागढुङ्गाकी १२ वर्षीया स्मृती पराजुलीको प्रहरीले उद्धार गरेको हो। पोखरा ८ नागढुंगा बस्ने स्मृतीसहित तीन जना साथी मिलेर सेती खोंचमा खेल्न गएका थिए। पोखरा १५ मा रहेको हरियो खर्कको खेलमैदानमा जाँदै गर्दा सेती नदीको नजिकैको खोँचमा खसेकी उनको उद्धार गरेर पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको छ।
सगरमाथा चुचुरोमा मानवले पाइला टेकेको ७० वर्ष पुरा, भव्य कार्यक्रम गरी मनाइँदै काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा मानवले पहिलोपटक पाइला टेकेको ७० वर्ष पुगेको छ । दुई साहसी पर्वतारोही तेन्जिङनोर्गे शेर्पा र सर एडमन्ड हिलारी सन् १९५३ मे २९ तारिखमा सगरमाथाको शिखरमा पुगेका थिए । सोही आरोहणलाई स्मरण गर्दै सगरमाथा आरोहणको ७०औँ वर्षगाँठको सन्दर्भमा ‘प्लाटिनम जुब्ली’ मनाइने भएको छ । आगामी मे २९ तारिखमा नेपालमा भव्य कार्यक्रम गरी मनाइने नेपाल पर्वतारोहण सङ्घ (एनएमए)ले जनाएको छ । प्लाटिनम जुब्लीलाई भब्य रुपमा मनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीको अध्यक्षतामा मूल आयोजक समिति गठन गरिएको छ । समितिमा नेपाल पर्यटन बोर्ड, पर्वतारोहण सङ्घ, होटल सङ्घ नेपाल (हान), ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान)लगायत पर्यटन क्षेत्रका अगुवा संस्थाका प्रमुख एवम् प्रतिनिधि सदस्य छन् । समितिले प्लाटिनम जुब्लीलाई भव्यरुपमा सम्पन्न गर्नका लागि पूर्वतयारीका काम अघि बढाएको छ । समितिको बैठकले प्लाटिनम जुब्लीको कार्यतालिका तय गरेको एनएमएका महासचिव मोहन लम्सालले जानकारी दिए । “सगरमाथा आरोहणको ७० वर्ष पुगेको अवसरमा मनाउन लागिएको प्लाटिनम जुब्लीलाई सफल बनाउन कार्यक्रम तालिका बनाइरहेका छौँ, विदेशी पाहुना बोलाउनेलगायतका तयारी गरिएको छ”, उनले भने । महासचिव लम्सालका अनुसार ‘एभरेष्ट समिट’ आयोजना गरी विश्वभरका सगरमाथा आरोहीलाई नेपाल सरकारकोतर्फबाट सम्मान गर्ने कार्यक्रम छ । एनएमएका पूर्वअध्यक्ष एवं प्रमुख सल्लाहकार आङछिरिङ शेर्पाका अनुसार मे २९ तारिखका दिन सोलुखुम्बुको खुम्जुङमा विशेष कार्यक्रम हुनेछ । त्यहाँ तेञ्जिन शेर्पाका छोरा जम्लिङ तेञ्जिङ शेर्पा र हिलारीका छोरा पिटर हिलारी सहभागी हुने कार्यक्रम छ । खुम्जुङको औपचारिक कार्यक्रम सकेर पर्वतारोहण सङ्घले काठमाडौँमा छुट्टै कार्यक्रम आयोजना गर्नेछ । आरोहीको सम्मानमा ¥याली, सम्मान र रात्रिभोजलगायतका कार्यक्रम गरिने सङ्घले जनाएको छ । हिमालबारे जानकारसमेत रहेका शेर्पाले सगरमाथाको प्लाटिनम जुब्ली कार्यक्रमको माध्यमबाट नेपालको पहिचानलाई अन्तर्राष्ट्रिय जगतमा प्रवद्र्धन गर्न उपयोगी हुने बताउँछन् । उनले भने, “सगरमाथा संसारको उच्च शिर भएकाले सगरमाथामा हुने हरेक गतिविधिहरु राष्ट्रिय अन्तर्राष्ट्रिय मिडियाले सम्प्रेषण गर्ने भएकाले ७० वर्षे प्लाटिनम जुब्लीले पर्यटनमा केही न केही हलचल ल्याउनेमा विश्वास छ ।” नेपालमा सर्वोच्च शिखर सगरमाथासहित ८ हजार मिटर अग्ला आठ वटा हिमाल नेपालमा छन् । हालसम्म करिब सात हजार स्वदेशी तथा विदेशी पर्वतारोहीले सर्वोच्च शिखरको आरोहण पूरा गरिसकेका छन् । सगरमाथा चढ्ने होडबाजीका साथै आरोहीहरूले नयाँनयाँ कीर्तिमान समेत थप्दै आएका छन् । कामीरिता शेर्पाले २६ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान बनाएका छन् । उनी वसन्त ऋतुको यो सिजनमा पनि आफ्नै कीर्तिमान तोड्न सगरमाथा आरोहणमा निस्किएका छन् । पर्यटन विभागका अनुसार नेपाली तेञ्जिङ नोर्गे शेर्पा र न्यूजील्याण्डका सर एडमण्ड हिलारीले आरोहण शुरु गरेयता हालसम्म करिब सात हजार आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् । सन् २०२१ र २०२२ को संख्या जोड्दा आठ हजार बढीले सगरमाथा आरोहण गरेका हुन् । सन् १९७५ मे १६ तारिखका दिन जापानी आरोही जुनको तावेईले सगरमाथा आरोहण गरेर पहिलो महिला सगरमाथा आरोहीको उपमा पाउनु भएको थियो । पासाङ ल्हामु शेर्पा सगरमाथा आरोहण गर्ने पहिलो नेपाली महिला हुन् । एक तथ्याङक अनुसार हालसम्म तीनसय भन्दा बढी आरोहीले सगरमाथाको आरोहणका क्रममा ज्यान गुमाएका छन् । सन् २०२३ को वसन्त ऋतुको आरोहण पनि उत्साहबद्र्धक हुने अनुमान गरिएको छ । पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइटेल यो वर्ष उल्लेख्य सङ्ख्यामा आरोही आउने विश्वास छ । एनएमएका महासचिव मोहन लम्साल पनि यो सिजनको सगरमाथा आरोहण उत्साहबद्र्धक हुने बताए । सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङमा शेर्पाले पनि वसन्त ऋतुको सगरमाथा आरोहण राम्रो हुने सङेकेत देखिएको बताए । शेर्पाको कम्पनीबाट मात्रै अहिले ८० भन्दा बढी आरोही सगरमाथा आरोहणको तयारीमा छन् । विभागको पर्वतारोहण शाखाका अनुसार वसन्त ऋतुको सगरमाथा आरोहणका लागि यस वर्षको यस सिजनमा मात्रै २० आरोही समूहका एक सय ९७ जनाले सगरमाथाआरोहण अनुमति लिएका छन् । यद्यपि, वसन्त ऋतुको सगरमाथा आरोहणको सँघारमा आधार विविर माथितिर भएको हिम पहिरोको घटनाले आरोहणलाई प्रभावित तुल्याउने होकी भन्ने पर्वतारोहीमा चिन्ता थपिएको छ । चालु वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि बाटो निर्माण गर्न आवश्यक सामग्री पु¥याउने क्रममा आधार शिविरदेखि माथि क्याम्प–१ को बीचमा ‘आइसफल’ क्षेत्रको दाम भन्ने स्थानमा गत चैत २९ गते बिहान हिउँको ढिस्कोले पुरिएर दाछिरी शेर्पा, पेम्वा तेन्जिङ शेर्पा र लाक्पा रीता शेर्पा बेपत्ता भएका छन् । उनीहरुका खोजीकार्य जारी रहेको जनाइएको छ । “यो सिजनको सगरमाथा आरोहण ठीकै होला, तर, आरोहणको शुरुमै तीन आरोही हिम पहिरोमा परी बेपत्ता भएको घटनाले आरोहणलाई झस्काएको छ”, एनएमका पूर्वअध्यक्ष शेर्पाले भने । उनका अनुसार जलवायु परिवर्तनले विश्वतापमान वृद्धि भएकाले हिमालमा ढिलोगरी हिउँ पर्ने भएकाले हिमाल आरोहणका सिजनमा पनि परिवर्तन भइरहेको छ । सन् २०७० देखि ८० सम्म सगरमाथा आरोहण शरद ऋतुमा उपयुक्त मानिन्थ्यो । पछिल्लो पटक वसन्त ऋतुमा सगरमाथा आरोहण सर्वाधिक हुने गरेको छ । शेर्पाको भनाइमा शरद ऋतुमा आठ हजार मिटर अग्ला हिमालमा तीव्र गतिमा हावा चल्ने भएकाले आरोहण कठिन हुन्छ । सगरमाथा, कन्चनजङ्गा, ल्होत्से र मकालु हिमाल आरोहण गर्न कठिन हुन्छ । चोयु, धौलागिरी, मनास्लु र अन्नपूर्ण हिमाल आरोहणका लागि दुवै सिजन आरोहणका लागि सहज हुन्छ । नेपालमा हाल पाँच हजार आठ सय मिटरभन्दा अग्ला चार सय तीन हिमाल आरोहणका लागि खुल्ला गरिएको छ ।
निगमले भैरहवाबाट दिल्ली र क्वालालम्पुर उडान भर्दै काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले भैरहवाबाट भारतको नयाँ दिल्ली र मलेसियाको क्वालालम्पुरमा सिधा उडान सञ्चालन गर्ने भएको छ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट निगमले आगामी जेठ दोस्रो सातादेखि ती दुवै गन्तव्यमा नियमित उडानको तयारी गरेको हो । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार भैरहवाबाट नयाँ दिल्ली र क्वालालम्पुर सिधा उडानका लागि प्रक्रिया सुरु गरिएको छ । त्यस प्रयोजनका निम्ति दुवै मुलुकसँग उडान अनुमतिको आवश्यक प्रक्रिया अगाडि बढाइएको हो । उनले जनशक्ति व्यवस्थापन, प्राविधिक तयारी, बजारीकरणलगायत कार्यलाई तीव्रता दिई कर्यप्रारम्भ गरिएको उल्लेख गरे । दुवै गन्तव्यमा सातामा कम्तीमा एक उडान हुने गरी प्रक्रिया अगाडि बढाइएको र बजारको मागअनुसार उडान बढाउँदै लगिने प्रवक्ता पौडेलले बताए । “दुई मुलुक र इनरुट पर्ने आवश्यक उडान अनुमतिका निवेदन दिइसकेका छौँ, अनुमति आउनासाथ बुकिङ खुला गरिनेछ”, उनले भने । भैरहवाबाट उडानका लागि निगमका वाणिज्य विभागका उपनिर्देशक सन्तोष पाण्डेको नेतृत्वमा स्पेशल टास्क फोर्स गठन गरिएको छ । निगमले हाल दुवै गन्तव्यमा काठमाडौँबाट भने नियमित उडान गरिरहेको छ । नेपालको विश्वप्रसिद्ध गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई जोड्ने गरी निगमको उडान सेवा सुरु भएपछि लुम्बिनी भ्रमणमा आउने बौद्धमार्गी यात्रुहरूलाई थप आकर्षित गर्न विशेष प्याकेजको व्यवस्था गरिने निगमले जनाएको छ । विसं २०७९ जेठ २ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल व्यावसायिकरूपमा सञ्चालनमा आएको थियो । यो विमानस्थल भएर बौद्ध धमावलम्बीको बाहुल्यता भएका मुलुकहरू श्रीलङ्का, म्यानमार, थाइल्यान्ड, कम्बोडिया, भियतनाम, लाओसलगायत मुलुकमा हवाई सञ्जाल विस्तार गरी ती मुलुकबाट बढीभन्दा बढी पर्यटक आकर्षण हुने अपेक्षा गरिएको थियो । उक्त विमानस्थलबाट अहिले अन्तर्राष्ट्रियतर्फ कुवेतको जजिरा एयरले उडान भरिरहेको छ । हिमालय एयरलाइन्सले अघिल्लो वर्ष छोटो समय चार्टर्ड उडान गरेको थियो । भैरहवामा विभिन्न अन्तर्राष्ट्रिय एयरलाइन्सले उडानका लागि चासो देखाए पनि उडान सञ्चालन हुनसकेको छैन ।
नयाँ वर्षको आगमनले पोखराका होटलमा पर्यटक भरिभराउ, व्यवसायी उत्साहित पोखरा। नयाँ वर्ष २०८० को आगमनसँगै पोखराका होटल क्षमताको ९० प्रतिशत बढी भरिएका छन् । कोरोनाका कारण लामो समयसम्म प्रभावित यहाँको पर्यटन गत माघ १ गते भएको यती एयरलायन्सको विमान दुर्घटनापछि झनै सुस्ताएकामा नयाँ वर्षको आगमनले उत्साह थपेको होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । पोखरा र आसपास गरी यहाँ ठूला–साना गरी लगभग एक हजार दुई सय होटल सञ्चालनमा छन् । उनले नयाँ वर्षको आगमनसँगै देखिएको पर्यटकको चापले आफूहरूलाई उत्साहित बनाएको बताए। “नयाँ वर्षका कारण यतिखेर लेकसाइडका होटल लगभग शतप्रतिशत भरिएका छन्”, उनले भने, “लेकसाइडमात्र नभई पोखरा र आसपासका होटलसमेतको अक्युपेन्सी हेर्दा ९० प्रतिशतभन्दा बढी देखिन्छ ।” नयाँ वर्षको अघिल्लो दिन चैत ३० गते र वैशाख १ गते लेकसाइड क्षेत्रमा पर्यटकको चापका कारण कोठा पाउन मुस्किल भएको होटल एसियाका सञ्चालक धर्मराज पन्थीले जानकारी दिए। नयाँ वर्षको आगमनलाई लक्षित गरी आयोजित फेवा नववर्ष महोत्सवका कारण पनि आन्तरिक पर्यटकको चहलपहल बर्सेनि बढ्दै गएको पर्यटन व्यवसायी बताउँछन् ।
कुरिलो खेतीबाट मनग्य आम्दानी मध्यविन्दु। नवलपरासी(बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दु नगपालिका–३ ब्रमस्थानमा करिब डेड बिघा जमिनमा पदम मोक्तानले कुरिलो खेती गर्दै आएका छन्। बिगत चार वर्षयता लोट्स कृषि तथा पशुफार्म दर्ता गरी अन्य तरकारी तथा फलफूल खेती गर्दै आएका मोक्तानले विगत दुई वर्षदेखि कुरिलो खेती गर्न थालेको बताए। अन्य खेतीमा भन्दा भौगोलिक वातावरण तथा माटोको हिसाबले पनि कुरिलो खेती उपयुक्त हुने देखेपछि यसतर्फ आकर्षित भएको मोक्तानले बताए। पछिल्लो समयमा नवलपुरलाई कुरिलो खेतीको केन्द्र बनाउने सोचसहित आफू त्यसतर्फ लागि परेको उनले बताए। “कुरिलोको महत्व र फाइदा बुझेपछि पछिल्लो समयमा यसको माग काठमाडाैंलगायत शहरी क्षेत्रमा बढी रहेको छ”, उनले भने । उनले आफूले जस्तै अरूलाई पनि खेती गर्न आग्रह गर्ने गरेका छन्। यस फार्मबाट नौ जनाले रोजगारी पाएका छन् । कम खर्चमा बढी आम्दानी हुने कुरिलो खेतीबाट थोरै नाफा लिँदै यसको बजारीकरणमा लागेको मोक्तानले बताए। भिन्न सोचका साथ यसको आयुर्वेदिक फाइदा र महत्व बुझाउँदै स्थानीय क्षेत्रमा नै बजारीकरण गर्दै अहिले अन्य मानिसलाई रोजगारी समेत दिन सफल भएको उनले बताए। सुरुमा थोरै जमिनमा कुरिलो रोप्नु भएका मोक्तानले अब क्षेत्र विस्तार गर्न लागेको बताए। “बिरुवा रोपेको चार पाँच महिनामा तयार हुने कुरिलो खेतीमा दिनदिनै टुसा पलाउने हुँदा यसबाट राम्रो आम्दानी हुन्छ”, उनले भने। उनले भने, “अहिले बारीबाट नै प्रतिकेजी रु चार सयका दरले बिक्री गर्दै आएको छु ।” कुरिलो तरकारीको रुपमा प्रयोग गरिन्छ । यसको स्वाद अन्य तरकारीको भन्दा मिठोसँगै फाइदा पनि उत्तिकै छ । कुरिलो खादा रोग प्रतिरोधात्मक क्षमता बढाउने हँुदा यसको माग बढ्दै गएको छ।
आँबुखैरेनीतर्फ सात किमि सडक कालोपत्रको तयारी गोरखा। मुग्लिन पेखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको आँबुखैरेनी खण्डमा सात किलोमिटर सडक कालोपत्रको तयारी गरिएको छ। मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) ले आँबुखैरेनीतर्फबाट सात किलोमिटर सडक कालोपत्रको तयारी गरेको हो। सडक योजनाका पूर्वी खण्ड प्रमुख नरेन्द्र सुवेदीका अनुसार चालु आर्थिक वर्षभित्रै सात किलोमिटर सडकखण्ड कालोपत्र सम्पन्न गर्ने लक्ष्यका साथ काम अगाडि बढाइएको छ। “यो खण्डमा विद्युत् पोल स्थानान्तरण नहुँदा काममा केही समस्या आएको थियो, विद्युत् पोल हटाउँदै गइएको छ”, सुवेदीले भने, “सबै पोल स्थानान्तरण भइसकेको छैन तर हटाउने काम जारी छ।” विविध कारणले सडक कालोपत्रको काम ढिलाइ भएको बताउँदै सुवेदीले १० दिनभित्र कालोपत्रको काम सुरु हुने जानकारी दिए। सुवेदीले भने, “ जहाँसम्म लाग्छ १० दिनभित्र काम सुरु हुन्छ।” उनका अनुसार सडक कालोपत्रको परीक्षण भइसकेको छ। “कालोपत्रको ट्रायल भइसक्यो, कालोपत्र सडकलाई छुवाइसक्यौँ”, सुवेदीले भने। आँबुखैरेनीदेखि जामुनेसम्मको उक्त खण्डमा अहिले सडक विस्तार, पुल र कल्भर्ट निर्माणको काम भइरहेको छ। हालसम्मको उक्त खण्डको भौतिक प्रगति २२.५ प्रतिशत रहेको सुवेदीले बताए। पूर्वी खण्डको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो। ४१.४५ किमि यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ। पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ। यो खण्डको म्याद विसं २०८१ वैशाखसम्म रहेको छ। सडक चौडा पार्ने क्रममा निस्किएका निर्माण सामग्रीमा स्थानीय तहबाट रोयल्टी माग भएको साथै निर्माण सामग्री ढुवानी गर्दा प्रत्येक स्थानीय तहलाई ढुवानी शुल्क तिर्नुपर्ने अवस्था रहँदा आयोजनाको काममा केही समय ढिलाइ भएको थियो। तर अहिले उक्त समस्या समाधान भएको बताइएको छ। विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो। पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजार रहेको योजनाले जनाएको छ।रासस
मिथिलामा आज जुडशीतल पर्व मनाइँदै वैशाख। सिरहासहित मिथिला क्षेत्रमा आज परिवारका ज्येष्ठ सदस्यबाट जीवनमा सकारात्मक ऊर्जा र शीतलताको आशीर्वाद लिएर जुडशीतल पर्व मनाइँदै छ। नयाँ वर्षको प्रारम्भसँगै नयाँ वर्षको पहिलो दिन हिजो ‘सतुवाइन’ र आज दोस्रो दिन ‘जुडशितल’मनाइन लागिएको हो। यो पर्वमा जेष्ठजनले शीतल जल परिवारका सदस्यको शिरमा सेचन गर्दै सकारात्मक ऊर्जा वृद्धि र शीतलताको आशीर्वाद दिने प्रचलन छ। ‘सतुवाइन’ मा जौँ र चनाको सातु तथा सर्वत खाने र खुवाइने परम्परा छ। आज वर्षभरि सहकालको कामना गर्दै जिउमा हिलो छ्‌यापेर नुहाउने गरिन्छ। घरपरिवारका श्रेष्ठजनले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शीतलता र दीर्घजीवनको आशीर्वाद दिने गर्दछन्। नयाँ वर्षले जीवनमा शीतलता प्रदान गर्न सकोस् भन्ने पर्वको मुख्य सन्देश रहेको मिथिला संस्कृति छ। गर्मी मौसमको चनाको सातु, दाल, मुन्गाको तरकारी, चनाको पिठोबाट बनाइएको बरी र दही मथेर करी (कढी)पकाएर खाने परम्परा छ। यी सबै शाकाहारी र सुपाच्य भोजन मानिन्छन्। दही र मोहीको प्रचुर प्रयोगले गर्मीमा सजिलै खानेकुरा पचाउने जनविश्वास रहेको छ। जुडशितल पर्वमा आफ्ना खेतबारीका रूखबिरुवामा पानी सिञ्चित गरेर कहिल्यै पनि चिस्यानको कमी नहोस् भन्ने कामना गरिन्छ। जुडशितलका अवसरमा घरमूली आफ्नो बगैँचामा डुल्न निस्कन्छन्।
नयाँ वर्षमा पाथीभरासहितका पर्यटकीय क्षेत्र भरिभराउ ताप्लेजुङ। नयाँ वर्षमा आज ताप्लेजुङस्थित पाथीभरा मन्दिरसहित यहाँका पर्यटकीय क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ भएका छन्। प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर, फुङलिङ बजार नजिकै रहेको सिद्धीडाँडा, सुकेटार, देउराली, भिन्तुना डाँडालगायत ठाउँमा दिनभरजसो आन्तरिक तथा बाह्य पर्यटकको भीडभाड रह्यो। सुकेटार क्षेत्रमा पिकनिकसहित थुप्रै समूह पुगेका थिए भने घुमघामका लागि पनि ठूलै सङ्ख्यामा पर्यटक पुगेका थिए। सधैंका वर्षको तुलनामा यो वर्ष यहाँ आन्तरिक पर्यटकको चहलपहल धेरै देखिएको सुकेटारका व्यवसायी दावा शेर्पाले बताए। यता तीन हजार सात सय ९४ मिटरको उचाइमा पर्ने पाथीभरा मन्दिरसहित पदमार्गका विभिन्न ठाउँमा दिनभर नै मानिसको भीडभाड रहेको स्थानीयले बताएका छन्। पाथीभरा मन्दिरमा आज मात्रै करिब दुई हजार मानिस पुगेका छन्। कोही पाथीभराको दर्शनका लागि त कोही घुमघामका क्रममा पाथीभरा क्षेत्रमा पुगेका हुन्। यो सङ्ख्या गत वर्षको वैशाख १ को तुलनामा धेरै रहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताए। “भोलि शनिबार भए पनि आज नयाँ वर्ष भएकाले बाहिरका मानिस धेरै आएका छैनन्, तर आन्तरिक पर्यटक भने ठूलै सङ्ख्यामा पुगे, फेदी, काफ्लेपाटी, देउराली, सुकेटार जस्ता ठाउँमा घुमघाम गर्ने पर्यटकको चहलपहल निक्कै बढेको पाइयो”, काफ्लेले भने। पाथीभरामा हरेक शनिबार र मंगलबार दर्शन गर्नेको निक्कै भीड लाग्ने गर्छ। शनिबारको अघिल्लो दिन नै पाथीभरा क्षेत्रका होटल भरिभराउ हुन्छन्। तर नयाँ वर्ष शुक्रबार भएकाले शनिबार पूजाआजा गर्ने बाहिरका दर्शनार्थी न्यून सङ्ख्यामा आएको बताइएको छ। पाथीभराबाट कञ्चनजङ्घा हिमश्रृङ्खलाको मनोरम दृश्य अवलोकन गर्न पाइनुका साथै पदमार्गमा पर्ने वनजङ्गलमा विभिन्न प्रजातिका गुरास फुलेकाले पनि नयाँ वर्षमा धेरै पर्यटक घुमघामका लागि पुगेको स्थानीयले बताएका छन्। पाथीभरा क्षेत्रमा आजभोलि चापसहित विभिन्न प्रजातिका गुरास ढकमक्क फुलेको देख्न पाइन्छ। देउरालीदेखि माथिल्लो फेदीसम्म नै गुराँसका बोट प्रसस्त पाइने भएकाले कोपिला र पलाएको फुलको मनोरम दृश्य देख्न पाइन्छ। बजार नजिक पर्ने सिद्धीडाँडा र भिन्तुनामा धेरै सङ्ख्यामा मानिस पुगेका छन्। धार्मिक रुपमा महत्वपूर्ण मानिने सिद्धीडाँडामा पोखरीसहित मन्दिर रहेका छन्। मन्दिरको दर्शनसँगै पोखरीको अवलोकन गर्न पाइने भएकाले यहाँ पनि पर्यटकको चहलपहल बढेको हो। बजार नजिकै पर्ने भएकाले टाढाटाढाका ठाउँमा पुग्न नसक्ने बजार क्षेत्रका पाको उमेरका बालबालिका सिद्धीडाँडामा पुगेका थिए। मन्दिरको दर्शन गर्ने, फोटो भिडियो लिने युवायुवतीको भीडभाड देखिएको स्थानीय ईन्द्र गुरुङले बताए। कोभिड-१९ को सङ्क्रमणका केही वर्ष सुनसान जस्तै रहेका यी ठाउँमा यो पटक नयाँ वर्षको आगमनसँगै ठूलो सङ्ख्यामा आन्तरिक पर्यटकको चहलपहल बढेको स्थानीयले जानकारी दिए। ग्रामीण क्षेत्रका पर्यटकीय ठाउँमा आज चहलपहल बढ्यो। मिक्वाखोला गाउँपालिकामा पर्ने फुङफुङे झरना, मेरिङदेन गाउँपालिकामा पर्ने गुरासे पोखरीसहितका ठाउँमा स्थानीय मानिस नयाँ वर्षका अवसरमा घुम्न पुगेका थिए। मिक्वाखोला गाउँपालिकाको केन्द्र सावामा रहेको झरनासम्म नै सडक पुगेकाले पछिल्लो समयमा यहाँ आन्तरिक र बाह्य पर्यटक पुग्न थालेका छन्। दैनिकजसो पर्यटक पुग्ने झरनामा चाडपर्व, उत्सव आदि समयमा भने आन्तरिक पर्यटकको घुइँचो नै लाग्ने गर्छ । मेरिङदेन गाउँपालिकामा पर्ने गुराँसे पोखरीमा पनि आन्तरिक पर्यटक पुग्ने क्रम बढ्दै गएको छ। पोखरीसम्म सडक बाटो पुगेकाले र आसपासमा होटल पसलका संरचना बनेर सञ्चालनमा आएपछि उक्त क्षेत्रमा पर्यटक पुग्न थालेका हुन्। पोखरीलाई सफा गर्ने र बारबेर गर्ने कार्य गाउँपालिकाले गरेको थियो। पोखरीमा जमेको माटो निकालेर पानीले पोखरी भरिएपछि उक्त ठाउँमा टाढाका मानिस पुग्न थालेको स्थानीय फुर्वा शेर्पाले जानकारी दिए। गुराँसे पोखरी धार्मिक हिसाबले पनि महत्वपूर्ण रहेको स्थानीयले बताएका छन्। स्थानीय सरकार आएसँगै ग्रामीण क्षेत्रमा रहेका पर्यटकीय क्षेत्रमा सडकसहितका पूर्वाधारको विकास भएकाले र प्रचारप्रसार भएकाले ती ठाउँमा पर्यटकको चहलपहल बढ्न थालेको हो। स्थानीयले यस्ता ठाउँमा होटल पसल सञ्चालन गरेर पुग्ने पर्यटकलाई सहजता प्रदान गर्न थालेका छन्। रासस
व्यक्तिगत घटना दर्ता सप्ताहको आज दोस्रो दिन काठमाडौं। व्यक्तिगत घटना दर्ता सप्ताहको शनिबार दोस्रो दिन रहेको छ। देशभर शुक्रबारबाट सुरु भएको व्यक्तिगत घटना दर्ता सप्ताहको शनिबार दोस्रो दिन हो। शुक्रबारदेखि ७ वैशाखसम्म देशैभर व्यक्तिगत घटना दर्ता सप्ताह सञ्चालन भएको छ। १ वैशाखबाट गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले व्यक्तिगत घटना समयमै दर्ता गराउन नागरिक जागरुक गराउन सप्ताहव्यापी अभियान सुरु गरेको हो। जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाइँ सराइजस्ता व्यक्तिगत घटना, घटना भएको ३५ दिनभित्र दर्ता गराउन विभागले आग्रह गरेको छ।
भरत तालमा पर्यटकको घुइँचो सर्लाही। सर्लाहीको बागमती नगरपालिका वडा नं ४ र १२ मा निर्माणाधीन रहेको बागमती माछा पोखरी (भरत ताल) मा विक्रम सम्वत्को पहिलो दिन पर्यटकको घुइँचो लागेको छ। सङ्घीय भूउपयोग नीतिअनुसार खेर गएको बागमती नदीको उकास जमिनलाई आन्तरिक आयसँग जोडेर विसं २०७५ देखि निर्माण सुरु भएको सो तालमा निर्माणाधीन अवस्थामै पर्यटकको घुइँचो लागेको हो । हालसम्म डिपीआरको करिब २५ प्रतिशत काम मात्र सकिएको ताल पूरा निर्माण सम्पन्न हुँदा रु दुई अर्ब लाग्ने बागमती नगरपालिकाका नगरप्रमुख भरतकुमार थापाले जानकारी दिए । उनका अनुसार ताल बनाउन रु ७५ करोड खर्च भइसकेको छ । मानव निर्मित तालमा निर्माणकै चरणमा ३१ साना र एउटा ठूलो डुङ्गा सञ्चालनमा रहेको बागमती–१२ का वडाध्यक्ष ओमबहादुर श्रेष्ठले जानकारी दिए । उनका अनुसार एक सय एक बिघामा पानी र २० बिघामा सडक, नेपालको चित्र, बगैँचाका साथै रिसोर्ट गरी एक सय २१ बिघामा फैलिएको ताल निर्माणकै क्रममा पर्यटकको घुइँचो लागेको हो । नगरको विकासको गौरवका रूपमा निर्माण सुरु भएको तालबाट निस्केको पदार्थ ताल वरिपरि सडक, बगैँचा बनाउन र नगरभित्रका सार्वजनिक तथा सामाजिक काममा खर्च गरिएको बागमती–४ का वडाध्यक्ष कृष्णकुमार लामाले बताए। उनका अनुसार नगरपालिकाको आन्तरिक आयस्रोत र स्थानीयवासीलाई रोजगारी सिर्जना गर्ने योजनाले निर्माण सुरु गरिएको ताल निर्माण कै क्रममा भरिभराउ भएको छ । “सुरूमा सर्लाही र रौतहटको जनसङ्ख्या हेरेर वार्षिक १६ लाख पर्यटक लक्षित गर्दा पनि आयोजना सफल हुन्छ भन्ने थियो । भारतको बिहारबाट निकै पर्यटक आउन थाले”, नगरपालिका प्रमुख थापाले भने, “निर्माण सकिएपछि पर्यटक आउलान् र स्थानीयवासीले रोजगारी पनि पाउलान् भनेको अहिले नै थेगी नसक्नुको पर्यटक आउन थाले ।” उनका अनुसार विक्रम सम्वत्को पहिलो दिन आज करिब पाँच लाख पर्यटकले तालको अवलोकन गरेका छन् । तालले संस्कृति जगेर्ना, पर्यटन प्रवर्द्धन र सिँचाइमा सघाउ पुग्ने अनुमान गरिएको नगर उपप्रमुख लीलाकुमारी मोक्तानले बताइन्। “पानीमा हुने डल्फिनसहितका जीव यहाँ राख्ने पार्किङस्थल, पिकनिकका सामग्री र डिजेसहित सङ्गीतको व्यवस्था गरिनेछ । योजनासहित ताल निर्माण सुरु गरिएको हो”, उनले भनिन् । उनका अनुसार भारतबाट ४२ किलोमिटर र पूर्वपश्चिम राजमार्गबाट दुई किलोमिटरभित्र यो ठाउँ प्रयोगविहीन थियो । नगरपालिकाभित्र वन, खेतीयोग्य जमिन, नागरिक (सम्पन्न, विपन्न र सुकुम्वासी) र नगरपालिकाभित्र प्रयोगविहीन जमिन कहाँ कति छ भन्ने अध्ययन सुरू गरेर सङ्घीय भूउपभोग नीतिअनुसार नदी उकास जमिनलाई माछा पोखरीका रूपमा निर्माण सुरु गरिएको हो ।
इलामको मेलामा ठेलमठेल हुँदा ठूलो संख्यामा दर्शक घाइते, ३ जनाको अवस्था गम्भीर काठमाडौं। इलाम सदरमुकाममा मेला चलिरहेको स्थानमा सर्वसाधारणबीच ठेलमठेल हुँदा ठूलो संख्याका मानिस घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयले दिएको जनाकारी अनुसार इलाम अस्पतालमा १५ जना घाइतेहरुको उपचार भैरहेको छ। तीमध्ये ३ जनाको अवस्था गम्भीर रहेकाले बाहिर रेफर गरिएको छ। टुँडिखेलमा चलिरहेको मेलामा साँझको सांगीतिक कार्यक्रमका लागि टिकट काटेर छिर्ने बेला दर्शकबीच ठेलमठेल भएको प्रशासनले जनाएको छ। त्यसक्रममा किचिएर उनीहरू घाइते भएका हुन्। घटनामा कतिजना घाइते छन् भन्ने खुलेको छैन। तर, अहिले पनि अस्पतालमा उपचार गराउन घाइतेहरूलाई अस्पताल पुर्‍याउन थालिएको छ। प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले घाइतेको अवस्था सामान्य रहेको र सुरक्षाका सबै अंग अहिले टुँडिखेलमा परिचालन गरिएको बताए। राहसल बाल अनाथालयका लागि सहयोग संकलन गर्ने उद्देश्यले टुँडिखेलमा मेला चलिरहेको छ। मेलामा आज गायक प्रमोद खरेलको सांगीतिक कार्यक्रम थियो। कार्यक्रममा सहभागी हुन आउने दर्शकले टुँडिखेलको गेटमा उकुसमुकुस भएका दर्शकको बलले नै गेट खुस्किएर ठेलमठेल भएको बताएका छन्।
कोरोना सङ्क्रमित गर्भवतीको सफल शल्यक्रिया राँझा । नेपालगञ्जस्थित भेरी अस्पतालमा कोरोना सङ्क्रमित गर्भवतीको सफल शल्यक्रिया गरिएको छ । कोरोना सङ्क्रमणको दोस्रो लहरपछि पहिलोपटक आज तुलसीपुर उपमहानगरपालिका–४ दाङ निवासी २१ वर्षीया सङ्क्रमित गर्भवतीको आकस्मिक शल्यक्रिया गरिएको भेरी अस्पताल नेपालगञ्जका वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा कीर्तिपाल सुवेदीले जानकारी दिए । उनका अनुसार नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुुरमा कोरोना सङ्क्रमण पुष्टि भएपश्चात भेरी अस्पतालमा प्रेषण भएकी महिलाको शल्यक्रियामार्फत छोरा जन्मिएको छ । दुई दिनदेखि बेथा लागेर उपचारका लागि दाङका विभिन्न अस्पताल हुँदै शिक्षण अस्पताल कोहलपुरमा आउँदा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । भेरी अस्पतालमा उपचारका लागि ल्याउँदा गर्भवतीको अवस्था जटिल हुन पुगेको थियो । यसअघि अस्पतालमा कोरोना सङ्क्रमणको दोस्रो लहरका बेला सङ्क्रमित गर्भवतीको शल्यक्रिया गरिए पनि त्यसयताको यो शल्यक्रिया पहिलो भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा बद्री चापागाईंले जानकारी दिए । धेरै अस्पतालबाट प्रेषण हुँदै आउँदा गम्भीर अवस्थामा पुगेको सङ्क्रमित गर्भवतीको तत्काल शल्यक्रिया गरिएको बताउँदै उनले आमा र बच्चालाई अस्पतालमै आइसोलेशनको व्यवस्था गरेर राखिएको उल्लेख गरे ।
सुदूरपश्चिममा थप १९ जनामा कोरोना सङ्क्रमण बैतडी । सुदूरपश्चिम प्रदेशमा थप १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा तीन सय ८३ जनाको परीक्षण गर्दा १९ जनामा सङ्क्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । सीमा नाकामै गरिएको एन्टीजेन परीक्षणमा उनीहरूमा सङ्क्रमण देखिएको निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए । यसअघि बिहीबार यस प्रदेशमा ३६ जनामा सङ्क्रमण पुष्टि भएको थियो । केही महिना सङ्क्रमण शून्य रहेको यस प्रदेशमा पछिल्लो समय कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । गत महिना मात्रै यहाँ दुई सय ८८ जनामा सङ्क्रमण पुष्टि भएको थियो । भारतमा कोरोना सङ्क्रमण बढ्दै गएपछि त्यसको असर सुदूरपश्चिममा पनि देखिएको छ । यहाँका भारतसँग सीमा जोडिएका जिल्लाका सबै नाकामा हेल्थ डेस्क स्थापना गरेर र स्वदेश भित्रिने सबैको नाकामा कोरोना परीक्षणपछि मात्रै भित्रिन दिइएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । सुदूरपश्चिममा हालसम्म छ लाख ५४ हजार चार सय ७१ जनाको कोरोना परीक्षण गरिएकोमा ६२ हजार एक सय ८७ जनामा सङ्क्रमण देखिएको छ । सङ्क्रमणका कारण हालसम्म छ सय ३५ जनाको ज्यान गइसकेको छ ।
नयाँ वर्षमा पाथीभरासहितका पर्यटकीय क्षेत्र भरिभराउ ताप्लेजुङ। नयाँ वर्षमा आज ताप्लेजुङस्थित पाथीभरा मन्दिरसहित यहाँका पर्यटकीय क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ भएका छन्। प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर, फुङलिङ बजार नजिकै रहेको सिद्धीडाँडा, सुकेटार, देउराली, भिन्तुना डाँडालगायत ठाउँमा दिनभरजसो आन्तरिक तथा बाह्य पर्यटकको भीडभाड रह्यो। सुकेटार क्षेत्रमा पिकनिकसहित थुप्रै समूह पुगेका थिए भने घुमघामका लागि पनि ठूलै सङ्ख्यामा पर्यटक पुगेका थिए। सधँैका वर्षको तुलनामा यो वर्ष यहाँ आन्तरिक पर्यटकको चहलपहल धेरै देखिएको सुकेटारका व्यवसायी दावा शेर्पाले बताए। यता तीन हजार सात सय ९४ मिटरको उचाइमा पर्ने पाथीभरा मन्दिरसहित पदमार्गका विभिन्न ठाउँमा दिनभर नै मानिसको भीडभाड रहेको स्थानीयले बताएका छन्। पाथीभरा मन्दिरमा आज मात्रै करिब दुई हजार मानिस पुगेका छन्। कोही पाथीभराको दर्शनका लागि त कोही घुमघामका क्रममा पाथीभरा क्षेत्रमा पुगेका हुन्। यो सङ्ख्या गत वर्षको वैशाख १ को तुलनामा धेरै रहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताए । “भोलि शनिबार भए पनि आज नयाँ वर्ष भएकाले बाहिरका मानिस धेरै आएका छैनन्, तर आन्तरिक पर्यटक भने ठूलै सङ्ख्यामा पुगे, फेदी, काफ्लेपाटी, देउराली, सुकेटार जस्ता ठाउँमा घुमघाम गर्ने पर्यटकको चहलपहल निक्कै बढेको पाइयो”, काफ्लेले भने। पाथीभरामा हरेक शनिबार र मङ्गलबार दर्शन गर्नेको निक्कै भीड लाग्ने गर्छ। शनिबारको अघिल्लो दिन नै पाथीभरा क्षेत्रका होटल भरिभराउ हुन्छन्। तर नयाँ वर्ष शुक्रबार भएकाले शनिबार पूजाआजा गर्ने बाहिरका दर्शनार्थी न्यून सङ्ख्यामा आएको बताइएको छ। पाथीभराबाट कञ्चनजङ्घा हिमश्रृङ्खलाको मनोरम दृश्य अवलोकन गर्न पाइनुका साथै पदमार्गमा पर्ने वनजङ्गलमा विभिन्न प्रजातिका गुरास फुलेकाले पनि नयाँ वर्षमा धेरै पर्यटक घुमघामका लागि पुगेको स्थानीयले बताएका छन्। पाथीभरा क्षेत्रमा आजभोलि चापसहित विभिन्न प्रजातिका गुरास ढकमक्क फुलेको देख्न पाइन्छ। देउरालीदेखि माथिल्लो फेदीसम्म नै गुराँसका बोट प्रसस्त पाइने भएकाले कोपिला र पलाएको फुलको मनोरम दृश्य देख्न पाइन्छ। बजार नजिक पर्ने सिद्धीडाँडा र भिन्तुनामा धेरै सङ्ख्यामा मानिस पुगेका छन्। धार्मिक रुपमा महत्वपूर्ण मानिने सिद्धीडाँडामा पोखरीसहित मन्दिर रहेका छन्। मन्दिरको दर्शनसँगै पोखरीको अवलोकन गर्न पाइने भएकाले यहाँ पनि पर्यटकको चहलपहल बढेको हो। बजार नजिकै पर्ने भएकाले टाढाटाढाका ठाउँमा पुग्न नसक्ने बजार क्षेत्रका पाको उमेरका बालबालिका सिद्धीडाँडामा पुगेका थिए। मन्दिरको दर्शन गर्ने, फोटो भिडियो लिने युवायुवतीको भीडभाड देखिएको स्थानीय ईन्द्र गुरुङले बताए। कोभिड–१९ को सङ्क्रमणका केही वर्ष सुनसान जस्तै रहेका यी ठाउँमा यो पटक नयाँ वर्षको आगमनसँगै ठूलो सङ्ख्यामा आन्तरिक पर्यटकको चहलपहल बढेको स्थानीयले जानकारी दिए। ग्रामीण क्षेत्रका पर्यटकीय ठाउँमा आज चहलपहल बढ्यो। मिक्वाखोला गाउँपालिकामा पर्ने फुङफुङे झरना, मेरिङदेन गाउँपालिकामा पर्ने गुरासे पोखरीसहितका ठाउँमा स्थानीय मानिस नयाँ वर्षका अवसरमा घुम्न पुगेका थिए। मिक्वाखोला गाउँपालिकाको केन्द्र सावामा रहेको झरनासम्म नै सडक पुगेकाले पछिल्लो समयमा यहाँ आन्तरिक र बाह्य पर्यटक पुग्न थालेका छन्। दैनिकजसो पर्यटक पुग्ने झरनामा चाडपर्व, उत्सव आदि समयमा भने आन्तरिक पर्यटकको घुइँचो नै लाग्ने गर्छ। मेरिङदेन गाउँपालिकामा पर्ने गुराँसे पोखरीमा पनि आन्तरिक पर्यटक पुग्ने क्रम बढ्दै गएको छ। पोखरीसम्म सडक बाटो पुगेकाले र आसपासमा होटल पसलका संरचना बनेर सञ्चालनमा आएपछि उक्त क्षेत्रमा पर्यटक पुग्न थालेका हुन्। पोखरीलाई सफा गर्ने र बारबेर गर्ने कार्य गाउँपालिकाले गरेको थियो। पोखरीमा जमेको माटो निकालेर पानीले पोखरी भरिएपछि उक्त ठाउँमा टाढाका मानिस पुग्न थालेको स्थानीय फुर्वा शेर्पाले जानकारी दिए। गुराँसे पोखरी धार्मिक हिसाबले पनि महत्वपूर्ण रहेको स्थानीयले बताएका छन्। स्थानीय सरकार आएसँगै ग्रामीण क्षेत्रमा रहेका पर्यटकीय क्षेत्रमा सडकसहितका पूर्वाधारको विकास भएकाले र प्रचारप्रसार भएकाले ती ठाउँमा पर्यटकको चहलपहल बढ्न थालेको हो। स्थानीयले यस्ता ठाउँमा होटल पसल सञ्चालन गरेर पुग्ने पर्यटकलाई सहजता प्रदान गर्न थालेका छन्। सन्तोष पुर्कुटी\रासस
नयाँ वर्षसँगै रारामा पर्यटकको घुइँंचो मुगु। नयाँं वर्ष सुरु भएसँगै मुगुको रारामा घुम्न आउने पर्यटकहरुको घुइँंचो लागेको छ। काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानबाट घुम्न आउनेहरुले रारामा भिडभाड बढाएको छ। विशेष गरेर नेपालकै सबैभन्दा ठूलो र प्रसिद्ध तालको रुपमा रारा ताल आसपासका क्षेत्र आन्तरिक पर्यटकहरुले भरिएका छन्। समुन्द्र सतहबाट दुई हजार नौ सय ९० मिटरको उचाइमा रहेको रारा ताल जान अहिले सहजता समेत भइसकेकोले घुम्न आउनेहरुको संख्या अत्याधिक बढेको बताइन्छ। ‘पहिला पर्यटकले यो ठाउँंमा सहजै बास पाउने अवस्था थिएन,’ भक्तपुरबाट घुम्न पुगेका इन्जिनियक कृष्णभक्त दुवालले भने, ‘तर अहिले त्यस्तो छैन। रारा तालको छेउमै विभिन्न सुविधासम्पन्न होटलहरु भइसकेका छन्।’ यही कारण नयाँं वर्षमा रारा घुम्न आउनेहरुको भीड बढेको उनको बुझाई छ। रारा ताल जानको लागि हवाई तथा स्थल मार्ग दुबै प्रयोग गर्न सकिन्छ। यही तालको पुरा आकृती हेर्नको लागि समुन्द्री सतहबाट करीब ४ हजार मिटर उचाईमा रहेको मुर्मा टप नै उपयुक्त स्थल हो। घामको किरण अनुसार राराले आफ्नो कलर फेर्ने गर्दछ। कसरी जाने रारा? रारा जान अहिले हवाइ तथा स्थलमार्ग दुबै प्रयोग गर्न सकिन्छ। स्थल मार्ग हुँदै आफ्नै सवारी साधनमा जाने हो भने ताल नजिकैको सल्लाघारीमा गएर रोकिन्छ। हवाई मार्गबाट जादाँ भने मुगुको ताल्चा विमानस्थलबाट करिब दुई घन्टा हिडेपछि रारा ताल पुगिन्छ। रारा सार्वजनिक सवारी प्रयोग गरेर पनि जान सक्ने भइसको छ। केही वर्ष अगाडिसम्म सुर्खेतबाट हिडेर १० दिनमा रारा पुगिन्थो। तर, अहिले त्यस्तो रहेन। अहिले रारा जान १० दिन हिड्न पर्ने अवस्था छैन। सार्वजनिक सवारीमा जानेका लागि काठमाडौंबाट दैनिक कर्णाली यातायातको बस जुम्लासम्म जान्छ। काठमाडौंबाट हिँडेको करिब ३० देखि ३२ घन्टामा बसबाट जुम्ला सदरमुकाम खलंगा पुग्न सकिन्छ। जुम्लासदरमुकामबाट भने लोकल बस राराका लागि छुट्दैन। सवारीमै जानेहरुले साना गाडी रिर्जव गर्नुपर्छ। तर, खलंगबाट सिन्जा उपत्याका हुँदै मुगु सदरमुकाम गमगडी जाने बस पाइन्छ। गमगडीबाट हिडेर चार पाँच घन्टाका रारा पुग्न सकिन्छ। हवाई मार्गबाट रारा पुग्ने भने दुई वटा विमानस्थल प्रयोग गर्न सकिन्छ। बाँकेको नेपालगञ्जस्थित राजा विमानस्थलबाट र सुर्खेतबाट मुगुको ताल्चासम्मका लागि उडान भरिएको हुन्छ। ताल्चा विमानस्थलमा उत्रिएपछि केही घण्टाको पैदल यात्रामा रारा पुग्न सकिन्छ। तर, काठमाडौंबाट नै हवाई यात्रा गर्ने हो भने दुई दिनमै रारा पुगेर काठमाडौं आउन सकिन्छ। काठमाडौंबाट विहानको उडानमा नेपालगज्ज जाने। नेपालगज्जबाट फेरि ताल्चा विमानस्थल जान सकिन्छ। ताल्चाबाट भने दुई घन्टामा रारा पुग्न सकिन्छ। राराताल पुरै एक फन्को लगाएर एक रात राराका बसरे पनि भोलिपल्ट सहजै हवाई मार्गबाट काठमाडौं आइपुग्न सकिन्छ । हवाई मार्गले रारालाई नजिकै बनाइदिएको छ। तर, कालिकोट, दैलेख, जुम्ला र मुगुको मनोरम पहाड तथा पाटन हर्दै जानेका लागि भने हवाई मार्ग उचित छैन। रारा ताल जान पैदल यात्रीलाई सबैभन्दा सहज बाटो भनेको जुम्ला सुदरमुकाम पुग्नुपर्छ। तर, जुम्ला सदरमुकाम नपुगी नाग्माबाट पनि सिञ्जा उपत्यका हुँदै जान सकिन्छ। जुम्ला सदरमुकामबाट करिब तीन घन्टाको हिडाइमा डाँफेलेक पुग्न सकिन्छ।
भारतबाट फर्किने अधिकांशमा कोरोना सङ्क्रमण बैतडी। केही महिनायता सङ्क्रमण दर शून्य रहेको सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण दर फेरी बढ्न थालेको छ। भारतबाट स्वदेश आउने अधिकांशमा सङ्क्रमण देखिन थालेको हो। प्रदेशमा चैतमा मात्रै दुई सय ८८ जनामा सङ्क्रमण पुष्टि भएको छ । भारतसँग सीमा जोडिएका क्षेत्रमा दिनहुँ कोरोना सङ्क्रमित भेटिन थालेका सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। सङ्क्रमण पुष्टि हुनेमा अधिकांश भारतबाट फर्किएका व्यक्ति रहेका निर्देशनालयका कोभिड-१९ सम्पर्क व्यक्ति हेमराज जोशीले बताए। भारतका विभिन्न सहरमा कोरोना सङ्क्रमण देखिएकाले त्यसको प्रभाव यहाँ पनि पर्न थालेको उनको भनाइ थियो। उनले भने, “सङ्क्रमण पुष्टि हुने सबैजसो भारतबाट आएका व्यक्ति छन्। भारतमा सङ्क्रमण तीव्र रुपमा फैलिरहेकाले पनि सीमा क्षेत्रमा दैनिक आवागमन भइरहने हुँदा यहाँ सङ्क्रमितको सङ्ख्या बढ्न थाले हो।” नयाँ वर्ष तथा बिशु पर्व मनाउन गाउँ फर्किनेको सङ्ख्या बढेकाले सङ्क्रमण दर पनि बढ्न थालेको जोशीले बताए। उनका अनुसार भारतसँग सीमा जोडिएका क्षेत्रमा जोखिम बढी हुने भएकाले उच्च सतर्कता अपनाउन निर्देशनालयले सबैलाई अनुरोध गरेको छ। भारतसँग सीमा जोडिएका यहाँका झुलाघाट, पुलघाट, जौलजीवी, गड्डाचौकी र त्रिनगर नाकामा नियमित कोरोना परीक्षण भइरहेको निर्देशनालयले जनाएको छ। यी नाकामा हेल्थ डेस्क स्थापना गरेर एन्टीजेनमार्फत कोरोना परीक्षण पश्चात् मात्रै स्वदेश भित्रिन दिइने गरिएको छ। परीक्षणपछि सङ्क्रमण देखिनेलाई सम्बन्धित पालिकासँग समन्वय गरी होम आइसोलेसन बस्ने व्यवस्था मिलाइएको छ। सङ्मितलाई होम आइसोलेसनमा बस्न भने पनि आइसोलेसनको मापदण्डअनुसार उनीहरु आइसोलेसनमा नबस्दा समुदायमा जोखिम बढ्न सक्ने जोशीले बताए। उनले भने, “हामीले सङ्क्रमितलाई होम आइसोलेसनमा बस्ने भनेका छौँ, उनीहरुले होमआइसोलेसनमा नबस्दा समुदायस्तरमै कोरोना सङ्क्रमण फैलने जोखिम बढेको छ ।” सङ्क्रमणको जोखिम बढेसँगै कोरोना विरुद्धको खोप अभियानलाई पनि निरन्तरता दिइएको छ। प्रदेशका सबै स्थानीय तहमा कोरोना विरुद्धको बुस्टर डोज लगाउन तथा जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा पालना गर्न निर्देशनालयले आग्रह गरेको छ। सुदूरपश्चिममा हालसम्म छ लाख ५४ हजार ८८ को कोरोना परीक्षण गर्दा ६२ हजार एक सय ६८ जनामा सङ्क्रमण देखिएको छ । सङ्क्रमणका कारण हालसम्म छ सय ३५ जनाको ज्यान गइसकेको छ।
भौतिक पूर्वाधारमा अग्रणी भरतपुर महानगर, बेरुजु सबैभन्दा कम चितवन । देशका अन्य पालिकाभन्दा भौतिक पूर्वाधारमा अग्रणी देखिएको भरतपुर महानगरको बेरुजु निकै कम रहेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले बिहीबार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको ६०औँ प्रतिवेदनमा छवटा महानगरमा सबैभन्दा कम बेरुजु भरतपुरको रहेको उल्लेख छ । अघिल्लो आर्थिक वर्षमा पनि भरतपुर महानगरको बेरुजु अन्य महानगर पालिकाको भन्दा कम रहेको थियो । आर्थिक वर्ष २०७८÷७९ को प्रतिवेदनमा भरतपुरको बेरुजु शून्य दशमलव ०८ प्रतिशत रहेको छ । पेश्कीबाहेकको यो बेरुजु सबैभन्दा बढी वीरगन्जको सात दशमलव ९४ प्रतिशत, काठमाडौँको एक दशमलव ४५ प्रतिशत, विराटनगरको तीन दशमलव ५८ प्रतिशत, ललितपुरको दुई दशमलव २२ प्रतिशत र पोखराको पाँच प्रतिशत रहेको छ । पेश्कीबाहेक बेरुजुमा अघिल्लो वर्ष भरतपुरको शून्य दशमलव २५ प्रतिशत रहेको थियो । लेखा परीक्षणको तुलनामा बेरुजु प्रतिशत भरतपुरको शून्य दशमलव ०९ प्रतिशत छ भने सबैभन्दा बढी वीरगन्जको नौ दशमलव १२ प्रतिशत रहेको छ । त्यस्तै विराटनगरको तीन दशमलव ९२, काठमाडौँको दुई दशमलव ६०, ललितपुरको सात दशमलव ०४ र पोखराको पाँच दशमलव ५४ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७७÷७८ मा भरतपुरको बेरुजु शून्य दशमलव ५६ प्रतिशत रहेको थियो । सो आर्थिक वर्षमा पनि भरतपुरको बेरुजु सबैभन्दा कम थियो । त्यस वर्ष विराटनगरको सबैभन्दा बढी १७ दशमलव ५७ प्रतिशत, वीरगन्जको नौ दशमलव ८० प्रतिशत, ललितपुरको आठ दशमलव ०६ प्रतिशत, काठमाडौँको पाँच दशमलव ४० प्रतिशत र पोखराको ५ दशमलब ३५ प्रतिशत रहेको थियो । प्रतिवेदनमा उल्लेख भएअनुसार बेरुजुमध्ये पेश्कीसहितको बेरुजु रकम विराटनगरको रु २२ करोड ९५ लाख, वीरगन्जको रु ६७ करोड ७८ लाख, काठमाडौँको रु ६६ करोड १९ लाख, ललितपुरको रु ६१ करोड ९० लाख तथा पोखराको रु ७० करोड ६५ लाख छ भने भरतपुरको रु ६६ लाख मात्र छ । गत वर्ष विराटनगर महानगरपालिकाको लेखा परीक्षणको रकम रु पाँच अर्ब ८५ करोड ३३ लाख, वीरगञ्जको रु सात अर्ब ४३ करोड ४९ लाख, काठमाडौँको रु २५ अर्ब ४१ करोड ८८ लाख, ललितपुरको रु आठ अर्ब ७९ करोड ७९ लाख, भरतपुरको रु छ अर्ब ९६ करोड २६ लाख र पोखराको रु १२ अर्ब ७४ करोड ७५ लाख रहेको थियो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले पछिल्ला हरेक वर्षमा महानगरपालिकाको बेरुजु कम हुँदै गएको बताइन्। ऐन, नियम र मापदण्डको पूर्णपालना गरिएको, उपभोक्ता समितिलाई पेश्की दिने कार्यमा कडाइ गरिएको र बेरुजु फछ्र्यौटमा विशेष जोड दिएकै कारण अन्य महानगरपालिकाभन्दा भरतपुरको बेरुजु निकै कम भएको उनले बताइन्। गतिशील, पारदर्शी एवं स्वच्छ नेतृत्व र लेखा समितिको क्रियाशीलताका कारण न्यून बेरुजु आएको दाहालले जानकारी दिइन्। भरतपुर महानगरपालिकाले बेरुजु फछ्र्यौटका लागि अभियान नै सञ्चालन गरिरहेको उनको भनाइ थियो । जसको लागि सम्पर्क व्यक्ति तोकी बेरुजु फछ्र्यौटको काम गर्दै आइएको छ । आगामी दिनमा बेरुजु फछ्र्यौट केन्द्र स्थापना गरी अगाडि बढ्ने महानगरपालिका प्रमुख दाहालले बताइन्। विगत आर्थिक वर्षको सबै बेरुजुलाई फछ्र्यौट गर्दै जाने महानगरपालिकाले जनाएको छ । उनले भनिन् “जवाफदेहीता, पारदर्शिता र आर्थिक मितव्ययितामा हामी प्रतिबद्ध छौँ ।” सुशासनमा ध्यान दिँदै जनताको मन जितेर विकासमा महानगर जुटेको भन्दै महानगरप्रमुख दाहालले छिटो–छरितो सेवा प्रवाहमा महानगर लागेको जानकारी दिइन्। महानगरपालिकाका आर्थिक प्रशासन महाशाखा प्रमुख जगन्नाथ अर्यालले कुशल र मितव्ययी नेतृत्व एवं पारदर्शी कार्यशैलीकै कारण बेरुजु रकम घटाउन सफल भएको बताए। खर्चमा गरिएको मितव्ययिता नियम कानुनको परिधिमा रहेर खर्च गर्ने पद्धतिको विकास, आन्तरिक नियन्त्रण पद्धतिमा सुदृढीकरणका कारण बेरुजु घटाउन सफल भएको उनी बताउँछन्। महानगरले तहगतरूपमा बलियो अनुगमन संयन्त्र बनाएको र मापदण्ड कार्यविधिको पूर्णपालना गरेको प्रमुख दाहालको भनाइ छ ।
सुदूरपश्चिममा आज ‘बिसु’ पर्व मनाइँदै धनगढी । सुदूरपश्चिम प्रदेशमा आज ‘बिसु’ पर्व धुमधामका साथ मनाइँदैछ । यहाँ नयाँ वर्षको पहिलो दिनलाई धुमधामका साथ बिसुपर्वका रूपमा मनाउने चलन छ । हरेक वर्ष बिसुमा मीठा–मीठा खानाका परिकार बनाउने र विशेष गरेर सिस्नु लगाउने चलन रहिआएको छ । यसका साथै देवर भाउजु, नन्द भाउजु र साली भिनाजुले एकापसमा सिस्नुपानी छ्यापेर यो पर्व मनाइन्छ । देवर नहुने र नन्द नहुने भाउजु, भाउजु नहुने देवर, भिनाजु नहुने साली र साली नहुने भिनाजुले बिसु तिहारको दिनमा आफैँले भए पनि शरीरमा सिस्नो लगाउने परम्परा छ । बिसुका दिन सिस्नो लगाउँदा वर्षभरि रोग नलाग्ने जनविश्वास छ । सिस्नो लगाउँदा छालामा भएका खटिरा निको हुने र छालासम्बन्धी रोग निर्मूल हुने जनविश्वास रहेको जयानन्द भट्टले बताए । पछिल्लो समय भने बिसुपर्वमा सिस्नो लगाउने चलन कम हुँदै गएको छ । “पहिला जस्तो रमाइलो गर्ने चलन हराइसकेको छ”, उनले भने। सुदूरपश्चिमको महत्वपूर्ण पर्वका रूपमा रहेको बिसु आउनुपूर्व नै घर रातो माटो र कमेरोले लिपपोत गर्ने गरिन्छ । नयाँ वर्ष आउनुभन्दा अघि नै घर लिपपोत गरेमा वर्षभरि सुख, शान्ति र समृद्धि आउँछ भन्ने विश्वास रहिआएको छ । वैशाख सुरु भएसँगै रोगब्याधी, महामारी र अनिकालको समय सुरु हुने भएकाले त्यसका लागि सिस्नो लगाउँदै घरपरिवारका सदस्यसँगै बसेर बिसु मनाउने चलन छ । बिसु मनाउन रोजगारीका लागि अन्यत्र गएकाहरु घर फर्किने गरेका छन् । सुदूरपहाडका अधिकांश सर्वसाधारण मजदुरीका लागि भारतका विभिन्न सहरमा जाने गरेका छन् । छोटो तथा लामो समयका लागि परदेशिएका स्थानीय चाडपर्वका लागि घर फर्कने गरेका छन् । साहित्यकार रमेश पन्त मीतबन्धु यसलाई विष फाल्ने पर्वका रूपमा लिने गरिएको बताउछन् । आज बिहानैदेखि पवित्र नदीमा स्नान गर्ने गरिन्छ । आजको स्नानले शरीरमा भएको विषाक्त पदार्थ हटेर जाने र जीवन विषमुक्त हुने विश्वास गरिन्छ । आयुर्वेदिक उपचारमा पनि सिस्नोको प्रयोगलाई विशेष महत्वका रूपमा लिने गरिन्छ । यस पर्वको अवसरमा सुदूरपश्चिमका विभिन्न शक्तिपीठमा आज विशेष पूजाआजा तथा मेला लाग्ने गर्दछ । आजको दिन इष्टमित्र तथा घरपरिवारका सदस्य मिलेर स्थानीय मौलिक परिकार लौन, सेल, माणा, पुरी, बटुक, डुब्कालगायत परिकार खाँदै बिसु मनाउने गर्दछन् ।
नयाँ वर्षमा मात्र फूल्ने सलहेश फूल हेर्नेको भीड, संरक्षण गर्नुपर्ने स्थानीयको माग सिरहा। प्रत्येक नयाँ वर्षको पहिलो दिन अर्थात १ वैशाखका दिनमात्र फूल्ने फूलको दर्शन गर्न शुक्रबार बिहानैदेखि लहान नगरपालिकास्थित ऐतिहासिक स्थल सलहेश फूलबारीमा सर्वसाधारणको ठुलो भिड लागेको छ। लहान नगरपालीकाकाको १२ र २२ नम्वर वडाको पूर्व–पश्चिम राजमार्गसँगै रहेको सलहेश फूलबारीमा एक दिन मात्र फूल्ने फूल दर्शन गर्न हजारौंको संख्यामा भक्तजनहरु जम्मा भएका हुन्। राजा सलहेशको ऐतिहासिक गाथा बोकेको सलहेश फूलबारी मन्दिरमा नेपाल तथा भारतबाट हजारौं दर्शनार्थीहरु बिहानैदेखि आउने गरेका छन्। राजा सलहेश र उनकी प्रेमिका मालिनीको प्रेम प्रतिकका रुपमा लहानदेखि चार किलोमिटर पश्चिममा रहेको करिब ५ हेक्टर जमिनमा फैलिएको फुलबारीको मध्यभागमा हारमको एउटै रुखमा दुईवटा हाङ्गामा पुस्तौ पुस्तादेखि प्रत्येक वर्षको १ वैशाखमा एक जोडी माला देखिने गरेको जनविश्वास छ। ती माला र मेला हेर्न सिरहा, सप्तरी, उदयपुर, सिन्धुली, धनुषा, महोत्तरी, सर्लाही तथा भारतका निकटवर्ती गाउँहरुबाट सर्वसाधारणहरुको घुँइचो लागेका छन्। सलहेश फुलबारी संरक्षणको पर्खाइमा पर्यटकीय महत्व बोकेका सलहेश फुलबारीमा स्थानीय तहले संरक्षण नगर्दा वर्षभरी नै पर्यटक भित्राउन सकेका छैनन्। पुस्तौँदेखि पर्यटकीय महत्व बोकेका जिल्लाको विभिन्न दर्शनीय स्थलहरु मध्ये सिरहाको सलहेश फूलबारी एक हो, तर यहाँका स्थानीय तहले बेवास्था गरी संरक्षणतिर ध्यान नदिँदा यहाँको अवस्था दिनदिनै खस्किँदै गइरहेको स्थानीयले आरोप लगाएका छन्। पालिकाको क्षेत्रभित्र पर्ने पर्यटकीय स्थललाइ संवद्र्धन र संरक्षण गर्ने दायित्व नगरको रहे पनि जनप्रतिनिधिहरु मौन भएर बसेको स्थानीयहरुको आरोप छ। सलहेश फूलबारीको संरक्षणमा न त विगतका जनप्रतिनिधिले चासो देखाए, न त वर्तमान जनप्रतिनिधिहरुले पनि कुनै चासो नदेखाएको पुजारी वीरदेव धामीले दुखेसो पोखे। उनले भने, ‘विगतका जनप्रतिनिधिले सल्हेस फुलबारीको समृद्धिका लागि केही गरेन, नयाँ जनप्रतिनिधि आयो अब केही हुन्छ कि आशा पलाएको थियो तर भएन ।’ पर्यटकीय महत्व बोकेका सलहेश फुलबारी वरिपरिका स्थानीयहरु यस क्षेत्रको सम्बर्द्धन र संरक्षणको पखाईमा रहेका छन्। हरेक वर्षको चैत मसान्त र वैशाख संक्रान्तिका बेला दुई दिन मात्र फुलेर मालाको आकार ग्रहण गर्ने सलहेशको सुगन्धका लागि निकै मानिस भेला हुन्छन् र ठूलो मेला पौराणिककालदेखि लाग्दै आइरहेको छ। यो फूल नयाँ वर्षका अवसरमा मात्र फूल्ने भएकाले नयाँ वर्ष मनाउन आउने पर्यटकहरुको ठूलो भिड लाग्ने गरेको छ। सलहेश फूलवारी मेलाको उचित संरक्षण व्यवस्थापन पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न कुनै पहल नभएकोमा स्थानीयहरु गुनासो गर्न थालेका छन्। सलहेश तराईका पासवान जातीको इष्टदेव रहेको र तेह्रौ शताब्दीका लोकनायक भएकोले सलहेशको पूजाअर्चना गर्नाले मनोकाक्षां, सन्तान प्राप्ति, चर्म रोग, कुष्ट रोग लगायतका रोग ब्याधि हरण हुने जन विश्वास रहेको छ। फूलबारी भित्र दुर्लभ जातीका जडीबुटीहरु खोज्न भारतको बिहार, पश्चिम बंगला, नेपालको सिरहा, सप्तरी, उदयपुर, धनुषा लगायतका जिल्लाबाट हजारौंको संख्या आउने गर्दछन्। हरेक वर्षको १ गते मात्र पूजा हुने सलहेश फूलबारीमा भव्य मेला लाग्ने गर्दछ। सलहेश र मालिनीबीच प्रगाढ प्रेम सम्बन्ध रहेको र पे्रम सफल नहुँदा मालिनीले सलहेशको प्रतिक्षा गर्दै हरेक वैशाख १ गते फूलको माला लिएर देखा पर्ने जनविश्वास रहिआएको छ। नयाँ वर्षको पहिलो दिन मात्र फूल फूल्ने यो चमत्कारलाई सलहेश महोत्सवका रुपमा मनाउने भनिए पनि त्यो भनाइमै सिमित रहेको छ। फूलबारीको मध्यभागमा रहेको मालिनी मन्दिर दक्षिण टाँस्सिएको हारमको रुखको मध्यभागमा फूल्ने माला आकारको फूललाई सलहेशको गाथासँग जोडिन्छ। मन्दिरका पुजारी वीरदेव धामीका अनुसार हरेक नयाँ वर्षको दिन फूल्ने यो फूललाई राजा जयवर्द्धन सलहेश र दौना मालिनीको प्रेम प्रतिकका रुपमा लिइन्छ। अचम्म के छ भने साँझपख यो फूल ओइलाएर जान्छ। युवायुवतीहरु उक्त फूललाई साक्षी राखी प्रणयसूत्रमा बाँधिने गर्दछन्। फूलबारीमा प्रवेश गरेपछि शान्ति र पे्रमको भाव आफै उत्पन्न हुने गरेकाले त्यस भेगका मानिसहरुलाई मात्रै होइन, भाकल गर्ने जो सुकैको मनोकामना पुरा हुने गरेकोले भारतीय पर्यटक भक्तजनहरु आउने गरेका छन्। मेलामा आउने लाखौं भक्तजनहरुमध्ये तीस प्रतिशत भारतीय दर्शक रहने गरेको पुजारी धामीको भनाइ छ। सलहेश फूलबारीमा हारम पाकैर, लावा, सोहरा र विभिन्न जडीबुटी रहेको यस फूलबारीको शितल जल ग्रहण गरेपछि जस्तो सुकै रिस क्रोध शान्त हुने गरेको जानकारहरु बताउँछन्। विगतको तुल्नामा मेलामा व्यापार पनि बढेको र व्यावसायी गर्न पहिले भन्दा अहिले सहज भएको जनकपुरका माला,सिन्दुरको व्यपारी भोला दास बताउँछन्। उनका अनुसार मेलामा व्यवसायी सँगै शान्ति सुरक्षा पनि सुधार भएको छ। यस भेगमा अहिले पनि कुनै धार्मिक अनुष्ठान गर्दा कलश भर्नको लागि सलहेश फुलबारीको पानी प्रयोग गर्नुको साथै हैजा महामारी आउँदा पनि सलहेश फूलवारीको पानी औषधी मानेर खाएपछि निको हुने गरेको जनविश्वास छ। निःसन्तान महिलाहरुले सलहेश फूलबारीमा दर्शन गरेर सन्तान माग गर्दा सन्तान पाउने गरेकोले प्राप्त सन्तानको मुण्डन गराउन आउने गरेका छन्।
तालबाराही मन्दिर पुनःनिर्माण थालियो गण्डकी। पर्यटकीय नगरी पोखराको फेवातालको बीचमा रहेको प्रसिद्ध तालबाराही मन्दिरको पुनःनिर्माण प्रक्रिया थालिएको छ । धार्मिक गन्तव्यका रूपमा स्थापित तालबाराहीको पुरानो मन्दिर भत्काइएको छ । विसं २०७२ को भूकम्पबाट क्षति पुगेपछि पुनःनिर्माण गर्नुपर्ने अवस्था आएको हो । पुरानो मन्दिर भत्काएसँगै अर्को चाँदीको मूर्तिमा प्राणप्रतिष्ठा गरी नजिकैको हवनकुण्ड रहेको स्थानमा पूजाआजाका लागि व्यवस्था मिलाइएको छ । पुरानो मन्दिर भत्काइए पनि बारही देवीको दर्शन गर्न दैनिक ठूलो सङ्ख्यामा दर्शनार्थी मन्दिर पुग्ने गरेका छन् । ढल्किएको मन्दिर पुनःनिर्माणका लागि वाराही मन्दिर व्यवस्थापन समिति र पुरातत्व विभागले काम अघि बढाएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हिक्मतबहादुर कुँवरले जानकारी दिए। भूकम्पकै कारण मन्दिर नजिकै रहेका दुई गोदाम कोठाको दक्षिणतर्फको भाग दबेपछि केही वर्ष पहिले नै ती कोठा भत्काएर हटाइएको थियो । हाल भत्काइएको मन्दिर २०१७ सालमा तत्कालीन राजा महेन्द्र शाहले अहिलेको स्वरूपमा निर्माण गरेका थिए । पुरातत्व विभागको प्रत्यक्ष संलग्नतामा मन्दिर पुनःनिर्माण गर्न लागिएको र यसका लागि रु एक करोड ४० लाख लाग्ने बताइएको छ । पुरानै शैलीमा कालीगढ मगाएर मन्दिर पुनःनिर्माण गर्न लागिएको अध्यक्ष कुँवरले जानकारी दिए। मन्दिर पुनःनिर्माण गर्न पुरातत्व विभागले रु २५ लाख र मन्दिर व्यवस्थापन समितिले रु एक करोड १५ लाख जुटाउने सम्झौता छ । मन्दिर पुनःनिर्माणका लागि पोखरा महानगरपालिका तथा अन्य सहयोगदातासँग सङ्कलन गरिने बताउँदै अध्यक्ष कुँवरले दैनिकरूपमा मन्दिरमा आउने दर्शनार्थीबाट स्वतःस्फूर्तरूपमा सहयोग सङ्कलन भइरहेको बताए। “मन्दिर पुनःनिर्माणका लागि दैनिक रु ४०–५० हजारसम्म चन्दा सहयोग आउने गरेको छ”, उनले भने, “नयाँ वर्षका कारण पोखरा घुम्न आउने पर्यटकको आगमनले सहयोग पनि बढ्ने अपेक्षा गरेका छौँ ।” मन्दिरको पुनःनिर्माणसँगै यहाँको समग्र व्यवस्थापानका लागि गुरुयोजना तयार गर्न डा भरतराज पहारीको संयोजकत्वमा सात सदस्यीय विज्ञसहितको टोली गठन भई त्यसमार्फत अध्ययन भइरहेको उनले जानकारी दिए। मन्दिर पाँच महिनाभित्रै पुनःनिर्माण गर्ने लक्ष्य छ । प्राचीन मन्दिरका रूपमा चिनिए पनि यसलाई कसले र कहिले निर्माण गरेका हुन् भन्ने यकिन तथ्य भने अनुसन्धानकै क्रममा छ । मन्दिरको अस्तित्व १६६७ सालदेखि कायम रहिआएको पाइन्छ । कतै–कतै १४४७ सालदेखि अस्तित्वमा रहेको भन्ने अभिलेखसमेत छ । कास्कीका राजा कुलमण्डन शाहले मन्दिरमा खरको झुप्रो हालेर पहिलोपटक मन्दिर स्थापना गरेको इतिहास छ । प्राचीनकालमा माटाको ढिस्कामा एउटा शिला थियो, त्यहीँ मन्दिर स्थापना गरी बाराहीका रूपमा पूजाआजा गर्न थालिएको किंवदन्ती छ । किंवदन्तीअनुसार तालको बीचमा टापु बनेको र त्यहीँ मन्दिर स्थापना गरिएको इतिहास निकै रोचक छ । बाराही देवीको शक्तिले तालको बीचमा टापु बनेको विश्वास छ । तालबाराही देवी सन्न्यासीको भेषमा रातको समय मन्दिर रहेको वरपरको गाउँ पुग्दा अरु कसैले बास दिएनछन् । एउटी बूढीआमाले बास दिएर रातमा आफूसँग भएको ढुटाको रोटी खान दिएछन् । श्रुतिअनुसार भोलिपल्ट बिहान बूढीआमालाई देवीले अब यहाँ जलमग्न हुन्छ त्यहाँ गएर बस्नु भनेकामा ठूलो बाढी भएर जलमग्न भयो र बीच भागमा ढिस्कोमात्रै रह्यो । फेवाताल र यसको बीचमा अवस्थित तालबाराही मन्दिरको दर्शन गर्न वर्षभरि नै दर्शनार्थी आउने गर्दछन् । पोखरालाई पर्यटकीयरूपमा चिनाउन फेवाताल र यहाँको तालबारही मन्दिरको विशिष्ट महत्व रहेको पर्यटन व्यवसायी तारानाथ पहारी बताउँछन् । तालको बीचमा मन्दिर अवस्थित छ भन्ने सुनेर पनि टाढा–टाढाबाट दर्शनार्थी फेवाताल आउँछन् । त्यसकारण तालबाराही मन्दिरले पर्यटन र धर्म दुवैलाई जोडेको छ । तालमा देखिने माछापुच्छ«े हिमालको छायाँ र मन्दिर परिसरबाट देखिने हिमाली शृङ्खला, सराङकोट, विश्व शान्ति स्तूपजस्ता दृश्यले पर्यटक लोभिने गरेका छन् । प्राकृतिक मनोरम दृश्यको आनन्द लिन पाइनेमात्र नभई तालबाराहीको दर्शन गरेपछि चिताएको पुग्ने धार्मिक विश्वासले पनि यहाँ सर्वसाधारणको आकर्षण बढेको छ ।
चरखण्डीमा दर्शनार्थीको घुइँचो भक्तपुर। भक्तपुरको दधिकोट र सिरुटारको संगमस्थलमा रहेको प्रसिद्ध चरखण्डी मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ। चरखण्डी महादेव मन्दिरको कुण्डमा नुहाएर महादेवको पूजा गरे सबै रोग निको भई गरेका काम सफल हुने विश्वास रहिआएको छ। किंवदन्तीअनुसार सिकारीले मारेको भँगेरा चरखण्डीको पोखरीमा डुब्दा दैवी शक्तिका कारण पुनः जीवित भएर उडेको थियो। यहाँको कुण्डमा नुहाए छालासम्बन्धी रोगबाट मुक्ति मिल्ने विश्वास छ। यही विश्वासले आज बिहानैदेखि कुण्डमा स्नान गर्नेको घुइँचो लागेको छ। प्रत्येक वर्ष वैशाख १ गते मनाइने चरखण्डी मेलामा मन्दिर परिसरमा युवा शरीरमा बत्ती बालेर बसेका छन् । शरीरमा बत्ती बालेर बसेमा धर्म प्राप्ति हुने एवं पुण्य प्राप्त हुने जनविश्वास रहिआएको छ। मन्दिरमा बिहानैदेखि तीन खटसहितको खटजात्रासमेत गरिएको छ। दधिकोटका विभिन्न क्षेत्र परिक्रमा गराई बिहानै ल्याइएको खट पुनः मन्दिर परिसरमा राखेर पूजा गर्ने गरिन्छ। त्यसैगरी दधिकोटको चित्रपुरस्थित पूर्णविनायक गणेश मन्दिरमा पनि बिहानैदेखि मेला लागेको छ। यहाँ गणेशको खटजात्रासमेत गरिएको छ। दधिकोट र सिरुटारका बासिन्दाले गणेशको पूजा गरी बलि चढाएका छन् । यता सिरुटार र ललितपुरको टीकाथली गाविस जोड्ने दोभानस्थित गुप्तेश्वर महादेव मन्दिरमा पनि मेला लागेको छ। बालकुमारी देवी विराजमान गराएको खटलाई स्थानीयले पूजा सम्पन्न गरेपछि बोकेर टोलटोलमा पुर्‍याउने परम्परा रहेको स्थानीय प्रकाश श्रेष्ठ बताउँछन्। यस्तै चैत मसान्तमा साँझदेखि सुरु गरी रातभर सञ्चालन हुने चान्हेसिया अर्थात् रात्रिको जात्रा आज बिहान सम्पन्न भएको छ। मध्यपुरथिमिका बासिन्दाले मनाउने उक्त जात्रामा बिहीबार साँझ बालकुमारीलाई थिमिको लायकू दरबारबाट जात्रा गरी बालकुमारी मन्दिरमा ल्याएर विराजमान गराई चान्हेसिया जात्रा सुरु गरिएको थियो। चान्हेसिया जात्रामा सर्वप्रथम दिगुटोलमास्थित दिगुभैरवलाई आचाजु कर्माचार्यको घरबाट लायकूमा ल्याइन्छ भने त्यसपछि तलेजुबाट बालकुमारीलाई ढकीमा राखेर कपडाले छोपी लायकू अगाडि ल्याइएर जात्रा मनाइन्छ। त्यसपछि भने खटमा राखी बालकमारी मन्दिरमा विराजमान गराइन्छ। जात्रामा थिमिको अधिकांश घरबाट निस्केको हजारौँ चिराग बालेर र धिमाय बजाई दक्षिण बाराही, हरिसिद्धि र अजिमा देवतालाई ल्याएपछि पुनः बालकुमारीबाट शङ्खधर चोक हुँदै क्वाछेंस्थित दक्षिण बाराही मन्दिर परिक्रमा गराएको थियो। त्यसपछि तछुटोल, विष्णुवीर मन्दिर परिक्रमा गराई बालकुमारी मन्दिरमा ल्याई पुर्‍याएर पाँचपटक परिक्रमा गराएपछि सोही स्थानमा आ–आफ्नो आसनमा खटलाई राखेपछि जात्रा सम्पन्न भएको थियो। भक्तपुरको ल्यासिङ्खेलमा पनि बिहानैदेखि स्थानीयले पूजा एवं बलि दिएर पूजाआजा गरिरहेका छन्। दिनभर जात्रा गराएर साँझ तान्त्रिक विधिअनुसार पूजा सम्पन्न गरिन्छ।
अनावश्यक दबाब म झेल्छु, तपाईंहरू काम गर्नुस्– उपप्रधानमन्त्री श्रेष्ठ काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कारागारलाई सुधारगृहका रूपमा विकास गर्नुपर्ने बताएका छन् । आज कारागार व्यवस्थापन विभाग अवलोकनपछि विभागका अधिकारीहरूको ब्रिफिङ सुनेपछि उपप्रधानमन्त्री श्रेष्ठले उक्त कुरा बताएका हुन् । “कारागारलाई सुधारगृहका रूपमा सञ्चालन गर्नुपर्छ भन्ने मान्यतालाई हामीले स्थापित गर्नुछ, त्यो अनुकूल वातावरण बनाउनुछ”, उपप्रधानमन्त्री श्रेष्ठले भने, “त्यसमा हामीले गृहकार्य गर्नुपर्ने आवश्यकता छ ।” उनले बजेटलगायतका कारण उक्त कार्यका लागि सरकारका पनि केही सीमाहरू भएको चर्चा गर्दै साँच्चिकै सुधारगृह बनाउने काममा योजना बनाएर लाग्नुपर्ने र त्यसमा आफू प्रतिबद्ध रहेको बताए । उपप्रधानमन्त्री श्रेष्ठले एकातर्फ सीमित स्रोतसाधनका बाबजुद धेरै कैदीबन्दीको व्यवस्थापन गर्नुपर्ने चुनौतीपूर्ण जिम्मेवारी रहेको र अर्कातर्फ त्यहाँ भित्रैका नाइकेहरूको अनावश्यक दबाबको कुरा पनि आफूले सुनेको बताए । नीति र विधि छाडेर अनावश्यक दबाबमा आफूले काम नगर्ने श्रेष्ठको भनाइ थियो । उनले भने, “अनावश्यक दबाब हामी झेल्छौँ, मैले झेल्छु, म विभागका अधिकारीहरूलाई तत्काल सुधारको दिशामा लाग्न निर्देशन गर्दछु, तत्काल के के गर्नुपर्छ भन्ने सूची बनाउनुस् । त्यो सूची आओस् हामी त्यसलाई कार्यान्वयनमा लान्छौँ ।” उपप्रधानमन्त्री श्रेष्ठले यथास्थितिमा जस्तो चलिरहेको छ, त्यस्तै चलिरहोस् भनेर अब नहुने बताउनुभयो । अब विकृति र खराब कार्यहरूमा व्यापक परिवर्तन आवश्यक रहेको उनको भनाइ छ । ब्रिफिङका क्रममा विभागका अधिकारीहरूले सीमित स्रोतसाधनका बाबजुद धेरैको व्यवस्थापन गर्नुपरेको र क्षमताभन्दा बढी कैदीबन्दी राख्नुपरेको गुनासो गरेका थिए ।
भक्तपुरमा ठड्याइयो ५५ हाते लिङ्गो भक्तपुर । भक्तपुरमा चलिरहेको बिस्का जात्रा अन्तर्गत भेलुखेलमा योसिं: द्यो ठड्याइएको छ । विस्का जात्रामा हरेक वर्ष नयाँ वर्षको अघिल्लो दिन ५५ हाते योसिं: द्योलाई योसिंख्योमा उभ्याउने गरिन्छ । अष्टमात्रिकाको प्रतिक मानिने लिङ्गो नागनागिनीको प्रतिक स्वरुप हंलिपतध्वजा बाँधेर फराइन्छ । त्यसको लगत्तै खलाँ टोलमा भैरवनाथ र भद्रकालिको रथलाई एक आपसमा जुधाउने परम्परा रहेको छ । जसलाई स्थानीय भाषामा द्यो ल्वाकिगु भनिन्छ । लिङगो उभ्याउने र ढाल्ने नै बिस्केट जात्राको प्रमुख पक्ष हो । भैरवनाथको प्रतिक मानिने लिङ्गोको शीर्षभाग र हातहरु नौलो कपडाले बेरी लिङ्गोको कोखमा झुण्ड्याउने चलन छ । यी दुई वीरध्वजा र विश्वध्जालाई भैरवनाथको ध्वजा समेत भन्ने गरिन्छ । यी ध्वजाहरु फुकाएपछि एउटा संवत फेरिने हुनाले बीचैमा फुकाएर हेर्न हुँदैन भन्ने धार्मिक मान्यतासमेत रहेको पाइन्छ । लिङ्गो ठड्याउन बाँधिएका ८ वटा डोरीलाई अष्टमात्रिककको प्रतिक मानिन्छ ।
निगमको विमानस्थलमा खटिने कर्मचारीलाई खल्तीरहित पोषाक काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुका लगेज ओसारपसार गर्ने आफ्ना कर्मचारीलाई खल्ती नभएको पोषाक लगाउन निर्देशन दिएको छ । यात्रुहरूको लगेज टुटफुट भएको गुनासो आएपछि निगमले विमानस्थलमा कार्यरत कर्मचारीका लागि खल्तीरहित पोषाकको व्यवस्था गरेको हो । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार ब्यागेज ह्याण्डलिङ सेवा सुधारका लागि आजदेखि कर्मचारीलाई खल्तीरहित पोषाकको व्यवस्था गरिएको छ । ब्यागेज ओसारपसार गर्ने ट्रलीमा बार तथा चेन लगाइएको छ भने लगेज सुरक्षासम्बन्धी कर्मचारी खटाइनुका साथै वर्षाको पानीले ब्यागेज भिज्नबाट बचाउन ब्यागेज ट्रलीमा छाना व्यवस्था गरिएको छ । त्यस्तै ब्यागेजसम्बन्धी गुनासो सुनुवाइका लागि विमानस्थलमास्थित ब्यागेज ह्याण्डलिङ युनिटलाई २४ घण्टा नै क्रियाशिल गराइएको निगमले जनाएको छ ।
सहमति नभएपछि सरकार र मिटरब्याज पीडितबीचको वार्ता भंग काठमाडौं । मिटरब्याजी पीडितले सरकारसँगको वार्ता भंग भएको घोषणा गरेका छन् । गृह मन्त्रालयमा बिहीबार भएको वार्ता सहमति नभएपछि सरकार र मिटरब्याज पीडितबीचको वार्ता भंग भएको हो । सरकारले आफूहरुको माग सम्बोधन गर्न नचाहेकाले वार्ता भंग गरिएको मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले जनाएको छ । मिटरब्याज पीडितहरु महोत्तरीसहितका स्थानबाट काठमाडौं आएर आन्दोलन गरिरहेका छन् ।
सडकका ८५ प्रतिशत बालक यौन हिंसामा काठमाडौं । बालकमाथि पनि यौन हिंसा हुने गरेको विभिन्न तथ्याङ्कले देखाएको छ । भ्वाइस अफ चिल्ड्रेनले आज यहाँ आयोजना गरेको ‘बालकप्रति हुने यौन दुरव्यवहार रोकथाम गर्न सञ्चारकर्मीको भूमिका’ विषयक अन्तरक्रियामा नेपालमा पनि बालकमाथि विभिन्न वहानामा यौनहिंसा हुने गरेको पाइएको जानकारी दिइयो । नेपाल प्रहरी, महिला बालबालिका ज्येष्ठ नागरिक सेवा निर्देशनालयका अनुसार आर्थिक वर्ष २०७८/७९ मा ९३ जना र २०७७र७८ मा ९० जना बालक यौनहिंसामा परेका गरेका छन् । भ्वाइस अफ चिल्ड्रेनका कार्यक्रम निर्देशक राजु घिमिरेले नातेदार, अभिभावक र विदेशी नागरिकबाट धेरै जसो बालक यौनहिंसामा पर्ने गरेको बताए । बालकलाई फकाई फुलाई यौन हिंसाजस्ता क्रियाकलापमा सहभागि गराउने गरेको उनको भनाइ रहेको छ । बालकमाथि हुने यौनहिंसाका घटना कम उजुरी पर्ने गरेका छन् । बालकको अनुभवलाई साधारणरुपमा लिने गरिन्छ र कुनै पनि हानिकारक तथा जोखिमयुक्त तरिकाबाट लिइँदैन । यौन दुर्व्यवहारले बालकलाई पनि बालिकाजस्तै शारीरिक, वौद्धिक तथा मानसिकरुपमा असर पर्ने गर्दछ । अध्ययनअनुसार सडकमा बस्ने बालकमध्ये ८५ प्रतिशत बालक यौन दुव्र्यवहार र शोषणमा पर्ने गरेका छन् । हाल ९३ प्रतिशत देशले वयस्क र बालिकाबीचको यौन सम्बन्धलाई अपराध मानेका छन् भने ८२ प्रतिशत वयस्क र बालकबीचको यौन सम्बन्धलाई अपराध मानेका छन् । यस्तै विश्वभर छ जना बालकमध्ये एक जना १८ वर्ष हुनुअधि नै यौन हिंसाबाट प्रभावित हुने गरिएको अनुमान गरिएको छ । बालकलाई गोप्य अङ्ग छोएर अर्थात छुन लगाएर, अप्ठ्यारो लाग्ने गरी सुम्सुम्याउनु, अश्लिल शब्द प्रयोग गरेर बोलाउनु, अश्लिल तस्विर तथा भिडियो देखाउनु, यौनजन्य मेसेज पठाउनु, गोप्य अङ्ग हेर्नु वा हेर्न लगाउनुजस्ता यौन दुर्व्यवहार हुन् ।
बाजुराका एक बालकमा कालाजार भेटियो बाजुरा । गर्मीयाम सुरु भएसँगै बाजुरामा कालाजारका बिरामी भेटिन थालेका छन् । हिमाली गाउँपालिका–३ बौडीका छपल थापाका छ वर्षीया छोरा निमा छिरिङ थापालाई कालाजार देखापरेको जिल्ला अस्पताल बाजुराले जनाएको छ । लगातार तीन महिनादेखि बिरामी भइ थला परेका थापाको स्थानीय स्वास्थ्य संस्थामा उपचार गर्दा निको नभएपछि बुधबार बेलुकी जिल्ला अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा बालकमा कालाजार रोग भेटिएको अस्पतालका सूचना अधिकारी नृपराज गिरीले जानकारी दिए। उनका अनुसार बालकमा कालाजारका साथै कुपोषण छ भने शरिरमा दुई प्वाइन्ट मात्र रगत छ। रगतको मात्रा कम भएकाले बालकलाई आइसीयुमा राख्नुपर्ने भएपछि थप उपचारका लागि सुविधायुक्त अस्पताल पठाउने तयारी भइरहेको सूचना अधिकारी गिरीले बताए । गर्मीयाममा घर आगन अगाडि हुने फोहर र खाल्डामा पानी जम्ने भएकाले लामखुट्टे लाग्ने र लामखुट्टेले टोकेपछि कालाजार रोग लाग्ने अस्पतालका निमित्त कार्यालय प्रमुख डाक्टर मिलन जोशीले बताए। उनका अनुसार गर्मीमा कालाजार, डेङ्गुलगायत रोगको जोखिम बढी हुने गरेको छ । योसँगै जिल्लामा कालाजारका बिरामीको सङ्ख्या पाँच पुगेको छ । यसअघि कोल्टीमा चार जनामा कालाजार भेटिएको थियो।
धनगढीमा एकजनाको पेटमा भेटियो भोड्काको बोतल धनगढी। धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार गर्न आएका एक वृद्धको पेटमा सिंगाे भोड्काको बोतल (क्वाटर) भेटिएको छ। सेती प्रादेशिक अस्पताल सञ्चालनक समितिका अध्यक्ष निर्मल शाहका अनुसार अस्पतालमा उपचारका लागि आएका धनगढी स्थित फुलवारी एच गाउँका ६१ वर्षीय जमनसिंह रोक्कामगरको पेटमा खाली सिसी रहेको एक्सरेबाट देखिएको हो। उनी धनगढीको फुलबारीको एच गाउँ निवासी हुन्। पेटमा कसरी बोतल पुग्यो त्यो स्पष्ट हुन सकेको छैन।
महाकाली सिँचाइ नहरः परीक्षण भयो पानी आएन कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित निर्माण भएको महाकाली सिँचाइ नहरमा परीक्षणपछि पानी आउन सकेको छैन । सिँचाइ आयोजना कार्यालयले तेस्रो चरणमा गत असारमा २८ किलोमटिर मूलनहरमा पानी परीक्षण गरेको थियो । परीक्षणको क्रममा महाकालीको पानीले पहिलो रोपाइँसमेत गरिएको थियो । त्यसयता महाकाली सिँचाइको नहरमा पानी सञ्चालन हुन सकेको छैन । आयोजनाअन्तर्गत करिब २८ किलोमिटरसम्म मूल नहर निर्माण भइसकेको छ । उक्त क्षेत्रमा २२ शाखा नहर निमार्णधीन अवस्थामा छन् । महाकाली सिँचाइ आयोजना तेस्रो चरणका आयोजना निर्देशक रणबहादुर बमले भारतको टनकपुर ब्यारेजबाट पानी आउने उक्त नहरको औपचारिक उद्घाटन हुन नसकेका कारण पानी सञ्चालन हुन नसकेको बताए। “हामीले पानी सञ्चालनका लागि पटक–पटक ताकेता गर्दै आएका छौँ । भारतीय पक्षले दुवै देशको संयुक्त उद्घाटनपछि मात्रै पानी सञ्चालन हुने जानकारी दिँदै आएको छ ”, उनले भने। उनले दुवै देशको उच्च तहबाट हुने भनिएको उद्घाटनको टुङ्गो नलाग्दा नहरमा पानी सञ्चालन अन्योलमा परेको बताए। टनकपुर ब्यारेजबाट नेपाल–भारत सीमासम्म एक हजार दुई सय मिटर मूल नहर भारतीय पक्षले निर्माण सम्पन्न गरी तयारी अवस्थामा राखेको छ । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका बेला दुवै देशका प्रधानमन्त्रीले अनलाइनबाट संयुक्त रूपमा नहरको उद्घाटन गर्ने कार्यक्रम तय भए पनि कोरोना सङ्क्रमण बढेपछि उद्घाटन स्थगित भएको थियो । आयोजना कार्यालयका अनुसार मूल नहरमा पानी सञ्चालनमा आए किसानको खेतसम्म पानी पुर्‍याउन समस्या हुने छैन । महाकाली सन्धिअनुसार टनकपुर ब्यारेजबाट नेपालले सिँचाइका लागि बर्खायाममा एक हजार क्युसेक र हिउँदमा तीन सय क्युसेक पानी पाउने उल्लेख छ ।
कर्मचारी अभावले सेवाग्राही मारमा बाजुरा। डिभिजन वन कार्यालयमा कर्मचारी अभावका कारण दैनिक कामकाजमा सकस हुने गरेको छ। सरकारले दरबन्दीअनुसार कर्मचारी नपठाउँदा सेवाग्राही मारमा परेका छन्। सुदूरपश्चिम प्रदेश सरकार मातहतमा रहेको डिभिजन वन कार्यालयमा मागअनुसार कर्मचारी नहुँदा एक अधिकृतको भरमा कामकाज हुँदैआएको छ। डिभिजन वन मातहतका छ सबडिभिजन वन कार्यालयमा अधिकृतस्तरको दरवन्दी भए पनि वन रक्षकले कार्यालय सञ्चालन गर्दै आएका डिभिजन वन कार्यालयका सूचना अधिकारी सुवासचन्द्र अयडीले जानकारी दिए। सबडिभिजन वन कार्यालयमा छ अधिकृतको दरबन्दी भए पनि दुई जनाको भरमा छ। दरबन्दीअनुसार जनशक्ति नहुँदा दैनिक प्रशासनिक काम प्रभावित हुने गरेको अयडीको भनाइ छ। उनले भने, “छ इलाका वन कार्यालयका लागि २८ वन रक्षकको दरबन्दी छ। तर १८ वनरक्षकले इलाका वनको प्रशासन चलाउँदै आएका छन्।” अधिकृतस्तरको दरबन्दी आठ जनाको भए पनि दुई जना मात्र कार्यरत छन्। इलाकामा भने अधिकृत तहका कर्मचारी नै छैनन्। वनरक्षकले काम गर्दैआएका छन्। “दुई जनाले काम भ्याउनुपर्ने बाध्यता छ”, अयडीले भने। भौगोलिक विकटताका कारण वनका लागेको डढेलो नियन्त्रण र चिसो मौसममा वन्यजन्तु चोरी सिकारीका घटना न्यूनीकरण गर्न जनशक्ति अभावका कारण सकस हुने गरेको वन अघिकृत भोजराज पाठकले बताए। जनशक्ति अभावले कामको चाप बढेको छ। वनमा हुने आगलागी र वन्यजन्तु चोरी सिकारी नियन्त्रणका लागि सुरक्षाकर्मीको सहयोग लिनुपरेको पाठकको भनाइ छ।
३९ दिनपछि घर फर्किइन् मन्तोरिया धनुषा। जनकपुरधामको न्यूरो अस्पतालमा उपचार खर्च तिर्न नसकेर घर फर्किन नसकेर बन्धक बनेकी धनुषाको सबैला नगरपालिका-९ की मन्तोरिया देवी राय ३९ दिनपछि घर फर्केकी छिन्। अस्पतालमै बन्धक बनेकी मन्तोरियालाई सबैला नगरपालिकाकाको पहलमा घर फर्काइएको हो। नगरपालिकाका प्रमुख कारीराम यादवले जिल्ला प्रशासन कार्यालय धनुषासँग समन्वय गरी मन्तोरियालाई बुधबार घर फर्काइएको बताए। नगरप्रमुख यादवले रु एक लाख सहयोग गर्नुभएको छ । बाँकी रकम सहयोगी दाताबाट संकलन गरी चुक्ता गर्ने शर्तमा मन्तोरियालाई बन्धनमुक्त गराइएको उनले बताए। सोमबार नगरप्रमुख यादव र जिल्ला प्रशासन कार्यालय धनुषाका प्रशासकीय अधिकृत किरणकुमार मिश्र अस्पताल पुगेर मन्तोरियाको अवस्थाबारे जानकारी लिएका थिए। कार्यपालिकाको बैठकबाट उनलाई उपचार खर्च उपलब्ध गराउने र बन्धकमुक्त गराउन पहल गर्ने निर्णय गरेको थियो। गत माघ १२ गते मन्तोरियालाई मोटरसाइकलले ठक्कर दिएपछि जनकपुरधामस्थित न्यूरो अस्पताल भर्ना गरिएको थियो। अस्पतालले गत फागुन २० गते उनलाई डिस्चार्ज गरे पनि उपचार खर्न तिर्न सक्दा घर फर्किन सकेकी थिइनन्। अस्पतालमा उपचारवापत रु आठ लाख ७४ हजार तिर्न बाँकी थियो। तिर्न नसकेपछि तीन छोराछोरी र वृद्ध ससुरासहित मन्तोरिया ३८ दिन बन्धक बनेकी थिइन्।
बिस्केट जात्राका लागि मध्यपुरथिमिमा चार दिन सार्वजनिक बिदा भक्तपुर। नयाँ वर्षको अवसरमा मध्यपुरथिमि नगरपालिकाले चार दिन सार्वजनिक बिदा दिएको छ। नयाँ वर्षमा यहाँ मनाइने ऐतिहासिक एवं सांस्कृतिक महत्वको बिस्काः अर्थात् बिस्केट जात्रा स्थानीयले आजदेखि भव्यरूपमा मनाउने भएपछि नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो। नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठका अनुसार यस वर्ष चैत ३० देखि वैशाख ३ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरिएको छ। हरेक नयाँ वर्षमा मध्यपुरथिमिमा भव्यरूपमा बिस्केट जात्रा मनाइन्छ। स्थानीय बासिन्दाका लागि यो ठूलो चाड हो। यहाँ वैशाख २ गते ३२ खट जात्रा भव्यरूपमा सिन्दुर खेलेर बोडेमा जिब्रो छेडेर ऐतिहासिक जात्रा मनाइन्छ। उनले भने, “स्थानीय तहले बिदा नदिँदा यहाँका बासिन्दाले चाड राम्रोसँग मनाउन पाएका थिएनन्, त्यसैले यस वर्षदेखि चार दिन बिदा दिने निर्णय गरेका हौँ।” विस्केट जात्रालाई विशेषगरी भक्तपुर जिल्लाभरिमा नेवार समुदायले दशैँभन्दा ठूलो चाडका रूपमा मनाउने गर्दछन्। मठमन्दिरमा बलि पूजा गर्ने, विदेशमा रहेका आफन्त पनि बिस्केटलाई घर आउने र जात्रामा नातेदार, आफन्तलाई भोज खुवाएर नौ दिन आठ रातसम्म भव्यरूपमा मनाउने गरिन्छ। बिहान भक्तपुर र थिमिमा हात नभएकोे लिङ्गो उठाइयो आज मध्यपुरथिमिको बोडेस्थित महालक्ष्मी मन्दिर अगाडि लिङ्गो उठाइएको छ। मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, उपप्रमुख विजयकृष्ण श्रेष्ठ, वडाध्यक्ष रमेश थापा श्रेष्ठलगायतको उपस्थितिमा स्थानीयले मन्दिर अगाडि लिङ्गो उठाएका हुन्। तान्त्रिक विधि पूरा गरी बिहान स्थानीयले लिङ्गो उठाएपछि थिमि क्षेत्रको जात्रा एवं पर्वको विधिवतरूपमा सुरु हुने, मठमन्दिरमा मेला लाग्ने र भोज सुरु हुने परम्परा रहेको स्थानीय दिलकृष्ण प्रजापतिले जानकारी दिए। “महालक्ष्मी मन्दिर अगाडि लिङ्गो उठाएर जिब्रो छेड्ने जात्राको साइत गरिएको हो। यस मन्दिर अगाडि लिङ्गो उठाएपछि जिब्रो छेड्ने जात्रा पनि सुरु भएको मानिन्छ”, उनले भने। यहाँ आज नै कुमारीको रथ लहीटोलमा पु¥याइन्छ भने राति करिब नौ बजे निलबारही जङ्गलबाट ल्याएको दाउरा बालेर पूजा गरेपछि जिब्रो छेड्ने २७ वर्षीय सुजन वांग श्रेष्ठले व्रत प्रारम्भ गरी वैशाख २ गते जिब्रो छेड्ने परम्परा छ। आज व्रत सुरु भएपछि श्रेष्ठले केही खान नहुने, महिलासँग बोल्न, छुन नुहने, कुकुर, कुखुरा, बिरालोलगायतका पशुपक्षीलाई छुन नुहने परम्परा छ । मध्यपुरथिमिमा बिस्केट जात्राको अवसरमा सिन्दुर जात्रा विष्णुवीर जात्रा, रात्रिको चान्हेसिया जात्रा, सिद्धिकाली जात्रालगायतका जात्रा एवं पर्व स्थानीयले भव्यरूपमा मनाउने गरेका छन्। त्यसैगरी प्रत्येक वर्ष चैत मसान्तका दिन स्थानीय भक्तपुरको कुमालेटोलमा बिहानै उठाइने हात नभएको लिङ्गो आज बिहान विधिपूर्वक पूजा गरी उठाइएको छ। बिस्केटजात्राको अवसरमा हरेक वर्ष चैत मसान्तको दिन उठाइएको हात नभएको लिङ्गो जात्राको अन्तिम दिन वैशाख ५ गते बिहान ढाल्ने गरिन्छ। कुमालेटोलमा बिहान लिङ्गो उठाएपछि दिउँसो भैरव र भद्रकालीको पूजा गरी रथलाई भेलुखेल लगेपछि साँझ भेलुखेलमा हातसहितको नाग–नागिनीको प्रतीक रहेकोे तान्त्रिक विधिद्वारा तयार पारिएको इन्द्रध्वजासहितको ५५ हात लामो लिङ्गो उठाइन्छ। यसलाई विश्वप्रसिद्ध लिङ्गो जात्रा भन्ने गरिन्छ। यो लिङ्गो भने वैशाख १ गते दिनभर जात्रा गरेर साँझ विधिपूर्वक ढाल्ने गरिन्छ। – रासस
बागलुङको काठेखोलामा खानेपानी अभाव गलकोट।  बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा देउरालीमा खानेपानीको अभाव भएको छ। धम्जाका अधिकांश गाउँमा ‘एक घर, एक धारा’ निर्माण गरिए पनि देउरालीमा भने खानेपानी अभाव कायमै छ। भौगोलिक हिसाबले धम्जाकै शिरमा रहेको देउरालीमा खानेपानीका मूल बस्तीभन्दा तल भएका कारण यहाँका २० घरमा वर्षौँदेखि खानेपानीको पहुँच छैन। धम्जा देउरालीका बासिन्दालाई खानेपानीको सुविधा दिन सोलार लिफ्ट खानेपानी आयोजना सञ्चालन गरेर देउराली खर्कको चौरमुनिको मूलबाट खानेपानी ल्याइए पनि उक्त आयोजना एक महिनासमेत टिक्न सकेन। प्राविधिक त्रुटिका कारण सोलार लिफ्ट खानेपानी आयोजना सञ्चालनको एक महिनामै बिग्रिएपछि पुनः खानेपानीको अभाव भएको स्थानीय प्रेमश्वरी श्रेष्ठले बताइन्। “सोलार लिफ्ट आयोजना सञ्चालनको एक महिनामै बिग्रियो” उनले भनिन्। रु १४ लाखको लागतमा योजना सम्पन्न भएको हो। देउरालीका सबै घरमा खानेपानीका धारा छन्, तर पानी उपलब्ध छैन। काठेखोला गाउँपालिकाले दुई वर्षअघि देउरालीमा खानेपानीको अभाव टार्न सोलार लिफ्ट खानेपानी आयोजना निर्माण गरेको हो। योजना सञ्चालनमा आउन नसकेको खानेपानी उपभोक्ता समितिका अध्यक्ष यमबहादुर रोकाले बताए। लिफ्ट आयोजना मर्मत गर्न पहल भइरहेको उनको भनाइ छ। अहिले देउरालीमा असौजे र कालठुटेको मूलबाट आएको पानी दुईवटा ट्याङ्कीमा जम्मा गरेर घर–घरमा वितरण भइरहेको छ। बर्खामा खानेपानी पुग्ने भए पनि हिउँदयाममा अभाव नै हुन्छ। देउरालीमा खानेपानी ल्याउनका लागि बस्तीमुनिको देउरालीखोला मुहानको पानी सोलार लिफ्ट योजनामार्फत झन्डै तीन सय मिटरमाथि तानेर घर–घरमा पुर्‍याइएको थियो।
घरभाडा घटाउन व्यावसायिक संघसंस्थाको अपिल लुम्बिनी। कोभिड-१९ पछिको घट्दो व्यापार, बैंकको चर्को ब्याजदर, महँगो घरभाडालगायत कारण व्यापार व्यवसायमा देखिएको मन्दीले व्यवसायी विस्थापित हुने अवस्था आएको रुपन्देहीका उद्योगी व्यावसायिक संघसंस्थाले ठहर गरेका छन्। व्यावसायीक संघसंस्थाको बुधबार बुटवलमा बसेको संयुक्त बैठकले बढ्दो घरभाडा र चर्को बैंक ब्याजका विषयमा व्यावसायिक संघसंस्थाको सञ्जालले बृहत् बैठक आह्वान गरी बैंक ब्याजदर र घरभाडा घटाउन दबाबस्वरुप खाका तयार गर्ने निर्णय गरेको छ। रुपन्देही व्यापार संघ, रुपन्देही उद्योग संघ, बुटवल उद्योग वाणिज्य संघ, उद्योग व्यापार संघ र नेपाल घरबहाल सरोकार संघको संयुक्त बैठकले घट्दो र खस्कँदै गइरहेको व्यापारलाई बचाएर आफू पनि चल्ने र सबैलाई चल्ने अवस्था बनाउनु अपरिहार्य भएको उल्लेख गर्दै घरबहाल घटाउन घरधनीलाई सामूहिक आग्रह गरेको छ। बढ्दो आर्थिक मन्दीबाट व्यापार व्यवसाय, उद्योग तथा कलकारखाना धारासायी हुँदै गइरहेको र त्यसबाट निम्तिएको संटकका विषयमा छलफल भएको रुपन्देही व्यापार संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेले बताए। बैठकपछि जारी संयुक्त अपिलमा मुलुकको अर्थतन्त्रलाई चलायमान गराउँदै व्यापार व्यवसाय तथा उद्योग कलकारखाना सञ्चालन गर्ने अवस्था सिर्जना गर्ने विषयमा सबै पक्ष गम्भीर बन्न अनुरोध गरिएको छ। अपिलमा बढ्दो आर्थिक मन्दीबाट उपभोक्ता तथा घरधनीलाई प्रत्यक्ष असर परेको उल्लेख गर्दै बढ्दो आर्थिक मन्दीका कारण व्यापार नभएपछि बुटवल बजारमा घरभाडा लिएर व्यवसाय सञ्चालन गरेका व्यवसायी पसल बन्द गर्नेको सङ्ख्या बढ्दै गएको तथा बजार विस्थापित हुने क्रम बढेको प्रति चिन्ता व्यक्त गरिएको छ। यो स्थितिलाई मध्यनजर गर्दै पछिल्लो घट्दो र खस्कँदै गइरहेको व्यापारलाई बचाएर आफू पनि चल्ने र सबैलाई चल्ने अवस्था बनाउनु आवश्यक भएको अपिलमा उल्लेख छ। अपिलमा रुपन्देही व्यापार सङ्घका अध्यक्ष घिमिरेसहित रुपन्देही उद्योग संघका अध्यक्ष माधवप्रसाद पौडेल, बुटवल उद्योग वाणिज्य संघका कार्यवाहक महासचिव मुक्ति अधिकारी, उद्योग व्यापार सङ्घका वाणिज्य उपाध्यक्ष लोकनाथ पन्थी र नेपाल घरबहाल सरोकार संघका अध्यक्ष राजु लिगलले हस्ताक्षर गरेका छन्।
स्वास्थ्य क्षेत्रको अनुसन्धानमा सरकारले लगानी गर्ने : गृहमन्त्री काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले स्वास्थ्य क्षेत्रको अनुसन्धानका लागि सरकारले लगानी गर्ने बताएका छन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आयोजना गरेको ‘स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको नवाँै राष्ट्रिय सम्मेलन’को समापन गर्दै उनले स्वास्थ्य क्षेत्रको अध्ययन अनुसन्धानमा सरकारले लगानी गर्ने बताए । उनले स्वास्थ्य अनुसन्धानले नै स्वास्थ्य सुधारमा प्रगति ल्याउने भन्दै नेपालमा अनुसन्धानको काम यथेष्ट हुन नसकेकोसमेत बताए । गृहमन्त्री श्रेष्ठले नेपालमा गरिएका स्वास्थ्य अनुसन्धानले जनतालाई स्वास्थ्यमा सचेतना ल्याउनेसमेत बताए । उनले स्वास्थ्य अनुसन्धानमा बढीभन्दा बढी समुदायलाई सहभागी गराउनुपर्ने भनाइ राखे । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले सम्मेलनबाट प्राप्त भएका सुझावलाई स्वास्थ्य नीति निर्माणमा समेट्ने बताए ।परिषद्का कार्यकारी प्रमुख डा प्रदीप ज्ञवालीले सम्मेलनबाट प्राप्त भएका निष्कर्षले सरकारको नीति निर्माणमा सहयोग पु¥याउने बताए ।
सगरमाथा आरोहणका क्रममा बेपत्ता भएकाको खोजतलास तथा उद्धार कार्य जारी काठमाडौं । सगरमाथा आरोहणका क्रममा हिमपहिरोमा परी बेपत्ता भएका तीन जनाको खोजतलास तथा उद्धार कार्य जारी रहेको पर्यटन विभागले जनाएको छ । विभागका अनुसार चालु वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि बाटो निर्माण गर्न आवश्यक सामग्री पु¥याउने क्रममा आधार शिविरदेखि माथि क्याम्प–१ को बीचमा आइसफल क्षेत्रको दाम भन्ने स्थानमा आज बिहान हिउँको ढिस्कोले पुरिएर दाछिरी शेर्पा, पेम्वा तेन्जिङ शेर्पा र लाक्पा रीता शेर्पा बेपत्ता भएका हुन् । बेपत्ता भएका तीनैजना इमाजिन नेपाल ट्रेक एण्ड एक्सपिडिसन प्रालिका तर्फबाट खटिएका खुम्बु पासाल्हामु गाउँपालिका–५ निवासी हुन् । सिम्रिक एयरको हेलिकप्टर र स्थलगत मार्गबाट तीव्ररूपमा बेपत्ताको खोजतलास तथा उद्धार कार्य जारी रहेको विभागले विज्ञप्तिमार्फत उल्लेख गरेको छ । उक्त कार्यमा स्थानीय प्रशासन, सगरमाथा प्रदूषण नियन्त्रण समिति, हिमालयन उद्धार सङ्घ, इमाजिन एक्सिपिडिसन कम्पनी र पर्वतारोहण सञ्चालक सङ्घ नेपालसँगको सहकार्य रहेको विभागले जनाएको छ ।
अन्तरिक्षमा पहिलो मानव उडानको स्मरणमा कसमोनट दिवस काठमाडौं । हरेक वर्ष आज कै दिन अर्थात् अप्रिल १२ तारिखमा मनाइने कसमोनट दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । सन् १९६१ अप्रिल १२ मा रसियाको स्पेस वैज्ञानिक युरी गागारिनले पहिलो मानव अन्तरिक्ष उडान गरेको स्मरणमा यो दिवस मनाइँदै आइएको हो । आजका दिनलाई अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान भएको दिनका रूपमा लिइन्छ । उक्त दिवसका अवसरमा आज यहाँ रसियन हाउस अफ काठमाडौँ, नेपाल फिजिकल सोसाइटी र नेपाल साइन्स ओलमपियडले संयुक्तरूपमा आयोजना गरेको कार्यक्रममा नेपालमा अन्तरिक्ष क्षेत्रमा भइरहेका कामबारे प्रदर्शनी गरियो । ‘द स्क्वायड अफ चेञ्जमेकसर्’का संस्थापक सुशीलदेव भट्टराईले अन्तरिक्षमा पहिलो पटक मानिसले पाइला टेकेकोबारे चर्चा गर्दै अन्तरिक्ष विज्ञानबारे जानकारी दिन प्रदर्शनी आयोजना गरिएको बताए । उनले भने, “भविष्यमा यस विषयमा हाम्रा विद्यार्थीलाई रुचि बढाउन पनि हामीले विभिन्न कार्यक्रम आयोजना गर्दै आएका छौँ ।” “प्रदर्शनीमा दुई सय विद्यार्थीलाई अन्तरिक्षसम्बन्धी जानकारी गराउनाका साथै रकेट विज्ञान र भूउपग्रह (स्याटेलाइट) बनाउने तालिम तथा खगोलशास्त्रबारे जानकारी गराउँदै आएका छौँ”, भट्टराईले भने । सन् २०१९ मा बनेको नेपालको पहिलो भूउपग्रह ‘नेपाली सेट–१’ र यस वर्ष बनेको ‘मुनाल’ स्याटेलाइटलगायत अन्तरिक्ष सम्बन्धी सामग्रीहरुको नमूना प्रदर्शनीमा राखिएको छ ।
विस्तार हुँदै गरेको सडकबाटै गुड्छन् लामो दूरीका बस काठमाडौं। सरकारले चक्रपथको दोस्रो खण्डका रूपमा कलंकीदेखि नयाँबसपार्क हुँदै बसुन्धरासम्मको सडक विस्तार गर्न थाले पनि कतिपय लामो दूरीका बस भने अझै पनि चक्रपथको मुख्य सडकबाटै गुड्दै आएका छन्। यसअघि कलंकीदेखि सातदोबाटो हुँदै कोटेश्वरसम्म सडक विस्तार गरेको चिनियाँ पक्षले दोस्रो चरणअन्तर्गत कलंकीदेखि बसुन्धरासम्म सडक विस्तारका लागि तयारी थालेको हो। तयारीसँगै सडक वरपर मिचेर बनाइएका संरचना हटाउनाका साथै निर्माणस्थलसमेत खाली गर्न लागिएको छ। अहिलेसम्म सो स्थानमा ८० प्रतिशत निर्माणस्थल खाली भैसकेको सडक विभागले जनाएको छ। यसरी दोस्रोचरणको सडक विस्तारका लागि निर्माणस्थल खाली गर्न सुरु गरिरहँदा लामो तथा मध्यम दूरीका सार्वजनिक सवारीसाधन भने निर्माण भइरहेको सडकबाटै गुड्ने गरेका छन्। अहिले काठमाडौंबाट चितवन, नवलपरासी र भैरहवा जाने माइक्रोबस कलंकीको मुख्य सडकबाट गुड्दै आएका छन्। यस्तै पृथ्वी राजमार्गअन्तर्गत पोखरा, लमजुङ, बागलुङ, म्याग्दीलगायत क्षेत्रमा चल्ने माइक्रोबस गोंगबुदेखि नयाँ बसपार्कबीचको मुख्य सडक छेउबाट चल्ने गरेका छन्। यस्तै धादिङ, रसुवा र नुवाकोट जाने सवारीसाधन माछापोखरी तथा गोरखा चल्ने माईक्रोबस बालाजु क्षेत्रबाट चल्ने गरेका छन्। रातिको समयमा चल्ने ठूला बससमेत गोंगबुदेखि नयाँ बसपार्क बीचको मुख्य सडक छेउबाट चल्ने गरेका छन्। काठमाडौँ उपत्यकाभित्र प्रवेश गर्ने सार्वजनिक सवारीसाधनलाई व्यवस्थित तथा पार्किङ गर्न काठमाडौँ महानगरपालिकाले विसं २०५६ मा ल्होत्से बहुउद्देश्यीय प्रालिसँग सम्झौता गरी नयाँ बसपार्क सञ्चालनमा ल्याए पनि कतिपय सार्वजनिक बस भने अहिले पनि मुख्य सडकलाई बसपार्क बनाएर सञ्चालन हुँदै आएका छन्। पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्र केसी पृथ्वी राजमार्गमा चल्ने माइक्रोबसलाई व्यवस्थितरूपमा सञ्चालन गर्न आफूहरु लागिपरेको बताउँछन्। “राज्यले नीतिगतरूपमा सबै सवारी साधनलाई नयाँ बसपार्कभित्र जान अनिवार्य गरे हाम्रा कम्पनीका सवारी साधनलाई नयाँ बसपार्कभित्र जान कुनै समस्या छैन”, उनले भने। सरोकारवाला निकाय बसेर सार्वजनिक बस व्यवस्थापनका लागि छलफल गर्नुपर्नेमा अहिलेसम्म नगरेको र माईक्रोबसलाई व्यवस्थितरूपमा सञ्चालन गर्न आफ्नो कम्पनीलाई अहिलेसम्म कुनै निकायले छलफल र समन्वय नगरेको अध्यक्ष केसीले उल्लेख गरे। “काठमाडौँभित्रको सडक राम्रो हुनुपर्छ, माईक्रोबस र अन्य बस व्यवस्थापन राम्रो हुनुपर्छ भन्ने हाम्रो पनि माग हो, सार्वजनिक बस व्यवस्थापनका लागि हामी बाधक बन्दैनौँ,” उनले भने। काठमाडौंबाट हाल पृथ्वीराजमार्ग भएर छ सय सार्वजनिक सवारीसाधन आवतजावत गर्दै आएका छन्। काठमाडौँ महानगरपालिकाका यातायात विज्ञ जगतमान श्रेष्ठ चक्रपथ विस्तारको काम सुरु भएपछि सडकको वरिपरिबाट सञ्चालन हुँदै आएका सवारी साधनलाई नयाँबसपार्क भित्रबाट सञ्चालन गर्नेगरी काठमाडौं महानगरपालिकाले गृहकार्य गरेको बताउँछन्। “काठमाडौँ महानगरपालिकाले लामो तथा छोटो दूरीका सार्वजनिक सवारी साधन पार्किङका लागि नयाँ बसपार्कमा एक सय ६१ रोपनी जग्गा उपलब्ध गराएको छ, सबै सवारी साधन बसपार्कभित्रबाट सञ्चालन गर्नुपर्छ भनेर महानगरपालिकाले काम गरिरहेको छ,” उनले भने। नयाँ बसपार्कभित्र काठमाडौँ भित्रिने सवारी साधन नअटाए त्यसको विकल्प खोजिने विज्ञ श्रेष्ठको भनाइ छ। ट्राफिक प्रहरीले काठमाडौँ महानगरपालिका, यातायात व्यवसायी, यातायात व्यवस्था विभागलगायत सरोकारवाला निकायसँगको छलफलमा रातिको समयमा सञ्चालन हुने सवारी साधनलाई नयाँ बसपार्कबाट सञ्चालन गराउने निर्णय गरे पनि कतिपय सवारी साधन भने अहिले पनि चक्रपथ वरपरका सडकबाट सञ्चालन हुँदै आएका छन्। जनकपुर, वीरगञ्ज, बारा, पर्सालगायत क्षेत्रमा चल्ने रात्रिकालीन सवारी साधन अहिले पनि गौशालाबाट चल्दै आएका छन्। यस्तै सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, दोलखा र रामेछाप चल्ने सवारीसाधन पुरानो बसपार्क हुँदै कोटेश्वर सडक किनाराबाट सञ्चालन हुँदै आएका छन्। सार्वजनिक यातायातलाई व्यवस्थित गर्न काठमाडौँ महानगरपालिकाले वडा नं २६को गोंगबुस्थित विष्णुमति खोला किनारामा एक सय ६१ रोपनी जमिनमा झण्डै दुई हजार सार्वजनिक सवारी साधन अट्न मिल्ने पार्किङ बनाए पनि कडा नीति नहुँदा अधिकांश सवारी साधन सडकबाटै सञ्चालन हुँदै आएका हुन्। काठमाडौँको चक्रपथ वरपर मुख्य सडकमा टिकट काउन्टर र जथाभावी बस पार्किङ गर्दा उपत्यकाको ट्राफिक व्यवस्थापनमा समेत समस्या हुने गरेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार लामो दूरीका सवारी साधन चक्रपथको बाटो भएर ओहोरदोहोर गर्दा ट्राफिक व्यवस्थापनमा असहज हुने गरेको छ। कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्ट लामो दूरीका सवारी साधन चक्रपथ वरपर सडकमा पार्किङ गर्दा उपत्यकाको ट्राफिक व्यवस्थापनमै समस्या हुने गरेको बताउँछन्। “लामो तथा छोटो दूरीका सवारी साधन गोंगबुस्थित नयाँबसपार्क र पुरानो बसपार्कबाट सञ्चालन हुनुपर्छ, साँघुरो सडकमा जथाभावी सवारीसाधन पार्किङ गर्दा लामो समयसम्म सवारी जाम हुने गरेको छ”, उनले भने। ट्राफिक प्रहरी कार्यालयका अनुसार हाल काठमाडौं उपत्यकामा १९ लाख हाराहारीमा सवारीसाधन सञ्चालनमा छन् भने एकहजार सात सय हाराहारीमा ट्राफिक जनशक्ति कार्यरत छन्। पछिल्लो समय मुलुकको संघीय राजधानी काठमाडौँलगायत देशभर निजी तथा सार्वजनिक सवारी साधनको सङ्ख्या वृद्धि हुँदा र बाटो साँघुरो हुँदा ट्राफिक व्यवस्थापनमा चुनौती थपिँदै गएको छ।
कञ्चनपुरमा प्लास्टिकको झोला प्रयोगमा रोक, बिक्री गर्नेलाई ५० हजारसम्म जरिवाना महेन्द्रनगर । कञ्चनपुर जिल्ला प्रशासन कार्यालयले प्लास्टिकका झोला प्रयोगमा रोक लगाउने भएको छ । आगामी वैशाख १ गतेदेखि लागू हुने गरी जिल्लामा प्लास्टिकका झोला आयात, बिक्री, वितरण र प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले जानकारी दिए। “नयाँ वर्षको वैशाख १ गतेदेखि जिल्लाभर प्लास्टिकको प्रयोग, आयात र बिक्री वितरणमा रोक लगाउने भएका छौँं”, उनले भने, “यसबारे सार्वजनिक सूचनासमेत जारी गरिसकेका छौंँ ।” उक्त कार्यालयले एक महिना अगाडि नै सूचना जारी गरी प्लास्टिकका झोलाको आयात बन्द गर्न निर्देशन दिएको थियो। चालिस माइक्रोनभन्दा पातलो प्लास्टिकको झोला उत्पादन, आयात, बिक्री वितरण र प्रयोग गर्न नपाइने प्रजिअ अर्यालले बताए। नयाँ वर्षदेखि त्यस्ता प्लास्टिकका झोला उत्पादन, आयात, बिक्री वितरण गरेको पाइएमा कारबाही गरिने उनको भनाइ थियो । “प्लास्टिकको प्रयोग रोक्न नियमित अनुगमन गर्छौँ, पहिलोपटक भेटिएमा सम्झाउँछौँ र जफत गर्छाँै,” उनले भने, “त्यसपछि पनि त्यस्तो कार्य गरेको भेटिए सम्बद्ध व्यक्तिलाई प्रचलित कानुनअनुसार कारबाहीको दायरामा ल्याउँछौँ ।” प्लास्टिकको प्रयोग तथा बिक्री, वितरण गरेको पाइएमा वातावरण संरक्षण ऐन, २०७६ र वातावरण संरक्षण नियमावली, २०७७ बमोजिम कारबाही हुनेछ । प्रतिबन्धित झोला प्रयोग तथा बिक्री गर्नेलाई कसुरको मात्रा हेरेर रु ५० हजारसम्म जरिवाना हुनेछ । जिल्लाका नौ स्थानीय तहका जनप्रतिनिधिले प्लास्टिकको झोला प्रयोग तथा बिक्री, वितरणमा प्रतिबन्ध लगाउने प्रतिबद्धता जाहोर गरेका छन् । सोहीअनुसार जिल्ला समन्वय समितिको आयोजनामा भएको जिल्ला सभाले प्लास्टिकको झोला, प्लेट, गिलास र गुट्खा बिक्रीमा रोक लगाउने निर्णय गरेको छ । जिल्ला सभामा कञ्चनपुरका नौ स्थानीय तहका प्रमुख, उपप्रमुखको सहभागिता थियो । प्लास्टिकका झोला, प्लेट, गिलास र गुट्खा बिक्रीमा रोक लगाउँदै कार्यान्वयन गर्ने निर्णय भएको जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहराले बताए । “अब जिल्लामा प्लास्टिकका झोला र गुट्खा बिक्री, वितरण गर्न पाइने छैन्, प्लास्टिकको विकल्पका रूपमा कपडाको झोला प्रगोग गर्न सकिन्छ”, उहाँले भने। प्लास्टिकले वातावरणसँगै मानव स्वास्थ्यमा हानी गर्ने हुनाले प्लास्टिक प्रतिस्थापन गर्न उपभोक्ता नै जागरुक हुनुपर्नेमा उनले जोड दिए।
थानकोट–चित्लाङ सडक खण्ड स्तरोन्नति भएन काठमाडौँ। काठमाडौँलाई हेटौँडासँग जोड्ने वैकल्पिक मार्गका रूपमा रहेको थानकोट–चित्लाङ सडक खण्डअन्तर्गत पहिले ट्रयाक खुलेका धेरै खण्डको स्तरोन्नति हुन सकेको छैन। काठमाडौँतर्फको सडक खण्ड स्तरोन्नति गर्नुपर्ने भए पनि दैनिक धेरै सवारीसाधनको आवागमन हुने गरेकाले दुई किलोमिटरबाहेक अन्यत्र स्तरोन्नतिको काम अघि बढ्न सकेको छैन। बजेट अभावका कारण स्तरोन्नतिको काम अगाडी बढ्न नसकेको काठमाडौँस्थित सडक डिभिजन कार्यालयले जनाएको छ। काठमाडौँबाट जाने सडक ट्रयाक खुलेर कटिङमात्र गरिएको छ। “ठाउँ–ठाउँमा कहिलेकाहीँ मर्मत हुने गरेको भए पनि स्तरोन्नति गर्नुपर्ने आवश्यकता छ। सडक डिभिजनसँग स्तरोन्नतिका लागि बजेट छैन”, कार्यालयका इञ्जिनियर नेत्र पौडेलले भने। बल्खुबाट फर्पिङ हुँदै हेटौँडातर्फ निर्माण भइरहेको छ। यहाँ गाडीको चाप बढी हुँदा मर्मत गरिएका सडक पनि चाँडो बिग्रिरहेको उनको भनाइ थियो। थानकोटबाट साढे दुई किमी कालोपत्र गरिएको छ। त्यहाँबाट छ किमी काठमाडौँसम्म सडक बिग्रिएको छ। मोड बढी हुनाका साथै बाटोको ग्रेड पनि बढी भएकाले मर्मत गरिएका सडक बिग्रिरहेको जनाइएको छ। चित्लाङको दुई किमी कालोपत्र भइरहेको छ। थानकोटतर्फ धेरै स्थानमा बाटो बिग्रिएकाले स्तारोन्नतिमा समस्या भइरहेको छ। गत वर्ष चित्लाङ बजारबाट थानकोटतर्फको दुई किमी सडक कालोपत्रका लागि ठेक्का भएको थियो। अहिले भइरहेको स्तरोन्नतिको काम चालु आवमा सकिने इञ्जिनियर पौडेलले जानकारी दिए। थानकोट–चित्लाङ सडकलाई गणेशमान सिंह मार्ग नामकरण गरिएको छ। मकवानपुरतर्फ पनि विभिन्न खण्डमा सडक मर्मत भइरहेको छ।
बैतडी दुर्घटना : बिसु पर्व मनाउने सपना झौलेक भिरमै बिलायो बैतडी। मंगलबार राति ११ बजे बैतडीमा जिप दुर्घटना हुँदा छ जनाको ज्यान गयो। भारतमा रोजगारी गरेर नयाँ वर्ष अर्थात् बिसु पर्व मनाउन उनीहरु घर फर्किँदै थिए। बझाङको एकै गाउँका छ जना बाटोमै अस्ताए । परिवारका साथ बिसु पर्व मनाउने उनीहरुको सपना बाटोमै बिलायो। जयपृथ्वी राजमार्गको खोडपे-बझाङ सडकखण्डअन्तर्गत बैतडीको पाटन नगरपालिका-८ को झौलेक मोडमा से१ज ७६४ नंको जिप दुर्घटना हुँदा छ जनाको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा परी बझाङको केदारस्युँ गाउँपालिका-५ बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४२ वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४० वर्षीय वीरे धामीको ज्यान गयो। भारतसितको सीमानाका झुलाघाटबाट बझाङको बागथलातर्फ जाँदै गरेको उक्त जिपमा सवार सोही गाउँका अन्य छ जनाले भने हामफालेर ज्यान जोगाएको प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए। “क्षमताभन्दा बढी यात्रु सवार थिए, उकालोमा जिप चढ्न सकेन, ब्रेक फेल भएर दुर्घटना भएको अनुमान छ”, उनले भने। भारतको पिथौरागढमा मजदुरी गर्दैआएका एकै गाउँका उनीहरू मङ्गलबार घर फर्किन झुलाघाट पुगेका थिए। झुलाघाटबाट बझाङ-स्थित गाउँ पुग्न दुई तीनवटा गाडी फेरबदल गर्नुपर्ने झन्झटले सबैले मिलेर बझाङबाटै जिप रिजर्भ गरेर मगाएका थिए। बाह्र जनामध्ये छ जनाको बिसु मनाउने सपना झौलेक भिरमै बिलायो। सोही जिपमा सवार जयसिंह बोहराका अनुसार उनीसहित पाँच जना जिपको पछिल्लो भागमा बसेकाले हाम फालेर बाँच्न सफल भए। “सडक उकालो थियो, जिप ब्याक भएर भिरबाट खस्यो”, उनले भने, “जिप पछाडि पछाडी फर्किन थाल्यो, पछाडि सवार सबैले हामफाल्यौँ, जिप सोझै भिरमा खस्यो।” गत मङ्सिरमा सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा उनीहरुले गाउँमा भोट खसाले। त्यसपछि रोजगारीका लागि भारतको पिथौरागढ जाने सल्लाह भयो। निर्वाचनको अर्को दिन सबैजना घरबाट हिँडेको जयसिंहले बताए। उनले भने, “बिसु पर्व मनाउन सबै सल्लाह गरेर घर फर्किँदै थियौँ, एकसाथ नयाँ वर्ष मनाउनै पाइएन।” राति ११ बजे उनीहरुले खोडपे बजारमा खाना खाएका थिए। खाना खाएर अगाडि बढेको केही समयमै जिप मध्यरातमा झौलेक भिरमा दुर्घटनामा पर्‍यो। “खाना खाएपछि खोडपेमै आराम गर्न चालकलाई आग्रह गरेका थियौँ, चालकले बागथला पुगेर आराम गरौँला भन्यो”, जयसिंहले भने, “राति यतै आराम गरौँ, नयाँ वर्ष आउन एक दिन बाँकी छ, बरु बिहान झिसमिसेमै जाउँला भन्दा चालकले मानेनन्।” दुर्घटनामा एकै गाउँका छ जनाको ज्यान गएपछि बझाङको बाँझगाउँ शोकमा डुबेको छ। पर्वको मुखमै भएको दुःखद् घटनाले बिसु खल्लो बनाएको केदारस्युँ गाउँपालिका-५ का वडाध्यक्ष मोहनसिंह ठगुन्नाले बताए। सुदूरपश्चिममा नयाँ वर्षलाई बिसु पर्वका रूपमा मनाउने गरिन्छ। यतिबेला घर बाहिर हुनेहरु पर्व मनाउन फर्किन्छन्। जिप सडकबाट पाँच सय मिटर तल खसेको छ। जिप चालक मृतककै गाउँका २७ वर्षीय अर्जुन बोहरा फरार छन्। दुर्घटनालगत्तै प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी, प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीलगायतको टोली घटनास्थलमा पुगेको छ। शव भिरबाट निकाल्ने काम भइरहेको छ। रासस
इन्जिनियरका प्राध्यापकहरुबीच शुभकामना आदानप्रदान भक्तपुर । नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरमा अध्यापनरत प्राध्यापक तथा कर्मचारीहरुबीच नयाँंवर्ष २०८० सालको शुभकामना आदानप्रदान कार्यक्रम भएको छ । कार्यक्रममा कलेजका प्राचार्य प्राडा हरिकृष्ण श्रेष्ठले नाफा नलिने उद्देश्यका साथ सामाजिक संस्थाको रुपमा सञ्चालित कलेज त्यही रुपमा स्थापित होस् भनी शुभकामना व्यक्त गरे । नाफा नलिने उद्देश्यका साथ सामाजिक संस्थाको रुपमा सञ्चालित कलेजलाई केही तत्वहरुले निजी बनाउने दुष्प्रयास गरेको चर्चा गर्दै कुनै हालतमा पनि निजी बनाउन नदिने घोषणा गरे । कार्यक्रमका कलेजका सहायक प्राचार्य दुर्गाप्रसाद भण्डारी, प्रजातान्त्रिक प्राध्यापक संघका अध्यक्ष दीपक धामी, प्रगतिशिल प्राध्यपक संघका अध्यक्ष दिगम्वर खोटेजा, प्रशाशन प्रमुख श्रीमा शर्मा, स्वतन्त्र कर्मचारी संघका अध्यक्ष मनोहर खनाललगायतले कलेजलाई कुनै हालतमा पनि निजी हुन नदिने सामूहिक प्रतिवद्धता जनाए ।
निर्माण सम्पन्न हुने भाका आउनै लाग्दा काम सुरु नै भएन सुर्खेत। पश्चिम जाजरकोटको छेडा–चाँदे सडक खण्डको बीचमा रहेको साल्म खोलामा यातायात सञ्चालन गर्ने पुल निर्माण गर्ने भाका नजिकिँदै गर्दा पुल निर्माणको काम नै सुरु गरिएको छैन। भौतिक पूर्वाधार कार्यालय जाजरकोटले २०७८ सावन २९ गते नेपाल मेगा सिस्ने जेभी नेपालगन्जसँग ४ करोड ८८ लाखमा पुल निर्माण गर्ने सम्झौता गरेको थियो। सम्झौता मिति अनुसार २०८० माघ भित्र पुल निर्माण गरि पूर्वधार विकास कार्यालयलाई हस्तान्तरण गर्नुपर्ने सहमति रहेको छ। निर्माण कार्य पुरा गर्ने झण्डै ९ महिना बाँकी रहदा सम्म पुलको सामान्य काम समेत गरिएको छैन। पूर्वाधार विकास कार्यालयले समेत काम नगर्ने निर्माण व्यवसायीलाई कुनै पनि दबाव नदिएको सरोकारवाला बताउँछन्। यही ठाउँमा हिउँद याममा सजिलै यातायातका साधन सञ्चालन भए पनि वर्षायाममा यातायात सेवा अवरुद्ध हुँदै आएको छ। छेडागाड नगरपालिका–१ र ४ को बीचमा रहेको खारास्थित झार्पा खोला पुल सम्झौंता अनुसार काम भएको भए अहिलेसम्म आधा काम भइसक्नु पर्ने थियो। पुल निर्माणको जिम्मेवारी लिएको निर्माण व्यवसायीले काममा चरम लापरबाही र पूर्वाधार विकास कार्यालयले ताकेता नगर्दा पुल निर्माणमा ढिलाई हुँदै गएको हो। पुल निर्माणको भाका नजिक आउदै गर्दा अब म्याद थप गरेर काम गर्न निर्माण व्यवसायीले दबाब दिने निश्चित देखिएको छ। छेडा–चाँदे सडक खण्ड समेत पुलको अभाव नियमित नहुँने सम्भावना बढीरहेको छ। तालुक कार्यालय पुर्वाधार विकास कार्यालयले निर्माण व्यवसायीलाई कुनै पनि दबाव नदिँदा काममा ढिलासुस्ती भइरहेको स्थानीयबासी रेशम खड्काले बताए। छेडागाड नगरपालिकाले केही सामान्य यातायातका साधनहरु सञ्चालन गर्न खोलामा केही पाइपहरु राखेपनि त्यसको समेत प्रभावकारी भूमिका निभाउन सकेको छैन। हिउँदमा धुलाम्य यो सडक खण्ड वर्षायाममा हिलाम्यका साथै भगवानको भरोसामा यातायातका साधनहरु चलाउनु परेको यातायात व्यवसायी प्रविण पुनले बताए। पुल निर्माण नहुँदा खोलामा गाडी जवरजस्ती हालेर यातायात सञ्चालन गर्दा धेरै क्षती हुँदै गएको उनले बताए। भौतिक पूर्वाधार विकास कार्यालय जाजरकोटका प्रमुख सोहिन्दर यादवले काम नगरेको भए ताकेता गर्ने बताए। यादवले ताकेता गर्ने भनिएपनि कामको गती ज्यूकात्यु हुँदा समस्या हुँदै आएको छ। यो सडकले मध्यपहाडी लोकमार्गसँग जोडने काम गर्दछ। त्यस्तै भेरी करिडोरसँग समेत जाड्ने काम गर्दछ।
बैतडीमा जिप दुर्घटना: छ जनाको मृत्यु बैतडी। बैतडीको पाटन नगरपालिका स्थित झौलेकमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। पाटन नगरपालिका-८, झौलेक गाउँ जाने बाटो नजिक भिरबाट से१ज ७६४ नम्बरको जिप करिब पाँचसय मिटर तल भिरमा खसेको छ । पाँच जना हाम फालेर बाँच्न सफल भएका छन्। दुर्घटनामा परेर मृत्यु हुनेमा बझाङको केदारस्यु गाउँपालिका -५, का मने बोहरा ( वर्ष ६०)  गोरख बोहरा (३५) नरे बोहरा (४०) विर्ख धामी ( ४५) मानबहादुर धामी  (४५)  वीरे धामी (४५) को मृत्यु भएको छ।   मृतक सबै बझाङका  भएकाे  प्रहरीले जनाएकाे छ।
महाशिवरात्रि मेलामा पशुपति क्षेत्र विकास कोषद्वारा घोटाला, भेटीकाे घ्याम्पो गायब काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलले पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रि मेलामा घोटाला गरेको भन्दै थप अनुसन्धान गरी कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाएको छ । पर्यटनमन्त्री सुदन किरातीका अनुसार यस वर्षको महाशिवरात्रिको अवसरमा सञ्चालित मेलामा सम्झौताविपरीत काम भएको र छानबिन गर्दा सोझै घोटाला भएको देखिएकाले थप अनुसन्धान गरी दोषीउपर कारबाहीको लागि अख्तियारलाई पठाउने निर्ण गरिएको हो । पशुपतिनाथ मन्दिर परिसरबाट भेटीघाटी सङ्कलन हुने घ्याम्पो हराएपछि एक छानबिन समिति गठन गरिएको छ । सो समितिको प्रतिवेदनका आधारमा थप अनुसन्धान गर्नुपर्ने भएकाले गृहमन्त्रालयमार्फत नेपाल प्रहरीलाई पठाउने निर्णय भएको पर्यटन मन्त्रालयलले उल्लेख गरेको छ ।
नयाँ वर्ष मनाउन स्वदेश फर्किरहेका तीन नेपाली भारतमा लुटिए बेदकोट । भारतमा मजदुरी गरेर स्वदेश फर्किरहेका तीन नेपाली नागरिक लुटिएका छन् । उत्तराखण्डको हल्द्धानीमा लुटेराले जुसमा नशालु पदार्थ खुवाएर उनीहरूलाई लुटेका थिए । भारतमा लुटपाटमा परेर गड्डाचौकी नाकामा बेखर्ची पुगेका सुर्खेत र जाजरकोटका ती नागरिकको इलाका प्रहरी कार्यालय गड्डाचौकीले उद्धार गरेको छ । “भारतमा लुटिएर बेहोस अवस्थामा नाकामा पुगेका तीन नेपालीको उद्धार गरेर उपचारका लागि महाकाली अस्पताल पु¥याएका थियौँ”, ईलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायब निरीक्षक देवसिंह बुडालले भने, “चार जनामध्ये एक निदाएका थिए, जुसमा नशालु पदार्थ सेवन गराएर भारतीय महिलाले सँगै रहेका अन्य तीन जनालाई लुटपाट गरेका छन् ।” सुर्खेतको भेरीगङ्गा नगरपालिका–४ बाउनीचोरका ६० वर्षीय मिलन राजी, जाजरकोटको भेरी नगरपालिका–४ का ५७ वर्षीय लालबहादुर नेपाली र सोही ठाउँका ५५ वर्षीय केशर वली परेका छन् । उनीहरुका साथमा रहेको रु ४५ हजार भारु रुपैयाँ र तीन मोबाइल लुटिएको हो । उनीसँगै बसमा स्वदेश फर्किरहेका सुर्खेतको भेरीगङ्गा नगरपालिका–४ बाउनीचोरका ५२ वर्षीय ताराबहादुर मगर निदाएकाले लुटपाटबाट जोगिएका छन् । “महिलाले दिएको जुस सेवन गरेपछि आफूहरू बेहोस भएको र त्यसपछि केही थाहा नभएको लुटिएकाले भनेका छन्, बसमा सँगै रहेका मगरले त्यहाँबाट नाकासम्म ल्याएका थिए”, प्रहरी नायब निरीक्षक बुडालले भने, “अस्पतालमा उपचारपछि अहिले उहाँहरू होसमा आउनुभएको छ ।” भारतको उत्तराखण्डस्थित गढवालमा उनीहरू मजदुरी काम गर्थे । नयाँ वर्ष मनाउन खर्च जोहो गरेर स्वदेश फर्किँदा लुटपाटमा परेपछि बेखर्ची बनेका छन् । महाकाली प्रादेशिक अस्पतालमा उपचारपछि वडा प्रहरी कार्यालय महेन्द्रनगरले बससँग समन्वय गरेर गन्तव्यसम्म पठाएको छ ।
अन्तरिक्ष उडानको ६३ औँ वार्षिकोत्सव मनाइँदै काठमाडौं । अन्तरिक्षमा पहिलो मानव उडानका उपलक्ष्यमा बुधबार ६३ औँ वार्षिकोत्सव मनाइँदै छ । आजभन्दा ६२ वर्ष पहिले मानव इतिहासमा पहिलो पटक रुसी युवक युरी गागरिनले सोभियत रकेट ‘भोस्तोक’मा गुरुत्वाकर्षणको बललाई जित्दै अन्तरिक्षमा नियन्त्रित उडान भर्ने महान् लक्ष्य पूरा गरेका थिए । यसरी पृथ्वी नजिकको कक्षमा मानवसहितको योग्य उडानको एक भव्य प्रक्रियाको प्रारम्भ भई हाम्रा पुर्खाको सपनाले एउटा साकार रूप प्राप्त भएको थियो । गागरिनका अतिरिक्त अन्तरिक्ष अन्वेषणका क्षेत्रमा पहिलो नाम दर्ज गराउनेमा रुसी कस्मोनाट एलेक्सी लियोनोभ (जसले पहिलो स्पेसवाक सम्पन्न गरेका थिए), भ्यालेन्टिना तेरेस्कोभा (पहिलो महिला अन्तरिक्ष यात्री) र अन्य सोभियत र रुसी अन्तरिक्ष अन्वेषकले पृथ्वी नजिकको कक्षमा उडानको अवधि र जटिलताका लागि विश्व अभिलेख कायम गरेका छन् । अहिलेसम्म ३८ देशका करिब छ सय व्यक्ति अन्तरिक्षमा पुगिसकेको यहाँस्थित रुसी महासङ्घको राजदूतावासले जनाएको छ । हजारौँ वैज्ञानिक प्रयोग सम्पन्न गरिसकिएको छ, अन्तरिक्ष स्टेसन र टेलिस्कोप पृथ्वी नजिकको कक्षमा राखिएको छ । लगभग पाँच हजार कृत्रिम पृथ्वी उपग्रह ग्रहको सतहबाट विभिन्न दूरीमा अन्तरिक्षमा काम गर्छन् । अन्तरिक्ष उडानको तयारी र क्रममा दुई सय २८ जनाको मृत्यु भएको बताइएको छ । तत्कालीन सोभियत सङ्घ र त्यसपछि रूसी सङ्घ, धेरै अन्तरिक्ष कार्यक्रमको प्रारम्भकर्ता बन्यो र सधैँ त्यस्ता कार्यक्रमको विशेष शान्तिपूर्ण प्रकृतिको वकालत गर्दै आएको छ । विश्वका धेरै देशले विभिन्न अन्तरिक्ष अन्वेषणमा भाग लिइरहेका छन् र यस क्षेत्रमा हुने गरेको अन्तर्राष्ट्रिय सहयोगले साँच्चै ब्रह्माण्डीयस्तर हासिल गरेको राजदूतावासको विज्ञप्तिमा जनाइएको छ ।
सुपादेउराली मन्दिर,जसको भेटीबाट सञ्चालन हुन्छन् दुई विद्यालय अर्घाखाँची । मन्दिरमा चढाइने भेटीबाट अर्धाखाँचीका दुई विद्यालयको खर्च व्यवस्थापनमा सहयोग पुगेको छ । प्रसिद्ध धार्मिकस्थल सुपादेउराली मन्दिरमा चढाइएको भेटीबाट यहाँका दुईवटा विद्यालयका शिक्षकलाई मासिक तलब र अन्य खर्चको व्यवस्थापन भई शैक्षिक क्षेत्रमा पनि राहत पुगेको छ । मन्दिरको आम्दानीबाट सन्धिखर्क नगरपालिका–७ खाँचीकोटको आदर्श माध्यमिक विद्यालय र शीतगङ्गा नगरपालिका–२, सीतापुरको शान्ति निम्न माध्यमिक विद्यालयका निजी स्रोतका शिक्षकले तलब पाइरहेका छन् । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष फर्सबहादुर खत्रीका अनुसार आदर्श माविका लागि मासिक करिब रु ६५ हजार र शान्ति निमाविमा मासिक रु ५५ हजार रकम उपलब्ध गराइएको र अन्य विद्यालयमा समेत आवश्यकताअनुसार रकम उपलब्ध गराउने गरिएको छ । भेटीबाट अनाथ, असहाय र दैवी प्रकोपमा परेका परिवारलाई आर्थिक सहयोग गर्नाका साथै अन्य मठमन्दिर पौवा, बाटाघाटो, बिजुली, खानेपानी, दैवीप्रकोप राहत लगायतका मानवीय सेवाका क्षेत्रमा खर्च गरिएको उनले बताए । मन्दिरमा दैनिक आउने दर्शनार्थीहरूले चढाउने भेटी, सुपादेउराली मातालाई सम्झेर भाकल गरेबापत चढाइने भेटी नै मन्दिरको नियमित आम्दानी हो । भेटीबाट मन्दिरमा पुजारी, कर्मचारी, पूजापाठमा चाहिने सामग्री खरिदमा गरिने खर्चका साथै ती विद्यालयमा चार÷चारकोठे भवन पनि निर्माण गरिएको छ । मन्दिरकै भेटीले तीन वर्षको अवधिमा खाँचीकोट मन्दिर, विद्यालयमा शौचालय निर्माणका लागि खर्च गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । भेटीको करिब ७५ प्रतिशत चन्दा विद्यालयमा जान्छ भने बाँकी २५ प्रतिशत मन्दिर व्यवस्थापनमा खर्च हुन्छ । उपहारबाट गरिब विद्यार्थीलाई आर्थिक सहयोग, छात्रवृत्ति र सहयोग उपलब्ध गराइएको छ । भक्तजनले चढाएको भेटीबाट मन्दिरको मासिक आम्दानी करिब रु २० लाखसम्म हुने गरेको उनले बताए । अर्घाखाँचीको प्रसिद्ध धार्मिक आस्थाको केन्द्र सुपादेउराली मन्दिर धार्मिक पर्यटकीय गन्व्यका रूपमा विकास भएको छ । धार्मिक आस्था राखेर सुपादेउरालीको दर्शन गर्न आउने दर्शनार्थीको आकर्षण बढ्दै जाँदा धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास भएको हो । शक्तिपीठका रूपमा परिचित सुपादेउराली मन्दिर वरपरको मनोरम प्राकृतिक दृश्य र विभिन्न संरचना निर्माणले पर्यटकीय गतिविधि बढ्न थालेको छ । वरिपरि चट्टानले बनेको पहाडको बीचमा अवस्थित मन्दिरबाट प्राकृतिक वातावरण र हरियाली मनोरम दृश्यावलोकन गर्न पाइन्छ । सुपादेउरालीमा छिमेकी जिल्ला गुल्मी, कपिलवस्तु, पाल्पा, रुपन्देही, प्यूठानलगायत देशभर तथा भारतबाट समेत तीर्थालुको बाक्लो उपस्थिति हुने गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । मन्दिरमा खासगरी फागुन, चैत, वैशाख जेठ, असोज, कात्तिक र मङ्सिरमा दर्शनार्थीको भीड लाग्ने गर्दछ । सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोटमा नरपानी र फलमेको दुई अग्लो महाभारतको बीचमा रहेको यस मन्दिरमा एकादशी, औँसी र पूर्णिमा बाहेकका दिनमा भाकल गर्न पाइन्छ । विशेषगरी शनिबार भाकल गर्नेहरूको भीड लाग्ने गर्दछ । जे भाकल ग¥यो त्यो पुग्ने जनविश्वासले गर्दा पनि यस तीर्थस्थलको महिमा र गरिमा बढ्दै गएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत अर्घाखाँचीको गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डअन्तर्गत ४७ किमी दूरीमा महाभारत पर्वत शृङ्खलाको ठूलाठूला पहाडको खाँेचमा प्राचीन शैलीमा यस मन्दिर निर्माण गरिएको छ । वडा नं ७ का वडाध्यक्ष चुराबहादुर केसीले वडा तथा नगरपालिकामार्फत यस क्षेत्रको पर्यटकीय प्रवरद्धनका लागि गुरुयोजना निर्माण गरेर काम अघि बढाइएको बताए । मन्दिर क्षेत्रमा निर्माण भएका भवनहरूको स्वरुप एकैखालको कायम गर्ने, मन्दिर क्षेत्रमा पार्किङ, पार्क निर्माण, धर्मशाला निर्माण, खाँचीकोटको विकास, मसिनाको लेकमा पर्यटक पु¥याउन आवश्यक पूर्वाधार विकास लगायतका विषय गुरुयोजनामा राखिएको छ । उनका अनुसार सुपादेउराली मन्दिर आउने पर्यटकलाई जिल्लाका अन्य धार्मिक शक्तिपीठको भ्रमणका लागि लैजाने गरी समन्वयको काम पनि भइरहेको छ । यस मन्दिरमा भाकल र पूजापाठ गर्दा मनोकाङ्क्षा पूरा हुने जनविश्वासका कारण दैनिक हजारौँको सङ्ख्यामा भक्तजन आउने गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष फर्सबहादुर खत्रीले बताए । सुपादेउराली र नरपानी आउने पर्यटकलाई जङ्गबहादुर जन्मेको मथुरादरबार, न्वारन गरेको बल्कोट पौवा, पाणिनि तपोभूमि, अर्घादरबार, मालारानी मन्दिर, नृसिंहस्थान लगायतका धार्मिक तथा ऐतिहासिक प्राकृतिक स्थलमा लगेर पर्यटनबाट युवालाई स्वरोजगार बनाउन सकिने प्रशस्त आधार रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष खत्री बताउँछन् । बाइसे–चौबिसे शाहवंशीय राजाको पालामा निर्माण भएको मन्दिरमा २०४० देखि दैनिक पूजा गर्न थालिएको हो । विसं २०६० मा बाबा नरनारायणले झन्डै डेढ करोडको लगानीमा काठमाडौँ र भक्तपुरका ऐतिहासिक सम्पदामा प्रयोग भएका प्राचीन निर्माण सामग्रीबाट मन्दिर निर्माण गरेपछि दर्शन गर्न आउने भक्तजन बढेका हुन् । पर्यटकीयस्थल सुपादेउराली मन्दिरमा तीर्थालुको घुइँचोसँगै नरपानी, शीतगङ्गा लगायतका अग्ला पहाड घुम्ने पर्यटक बढ्दो छन् । भारत र नेपालको तराईबाट दैनिकजसो पहाड चढेर शीतलता लिने, बास बस्ने र पहाडका हरियाली मनोरम दृश्यावलोकन गरेर आनन्द लिने यतिबेला पहाड पर्यटकको रोजाइ बनेको छ । भारतीय तीर्थालुका लागि धार्मिक पर्यटकीयस्थल सुपादेउराली पछिल्लो समय तीर्थस्थल बनेको छ । तराईसँग जोडिएको जिल्ला भएकाले पर्यटक पहाड चढ्दा सहजै छ । नेपाल–भारत सीमा नाका कृष्णनगरबाट धेरै भारतीय पर्यटक गोरुसिङ्गे हुँदै सुपादेउराली मन्दिर दर्शन गर्न आउने गर्छन् । भारतको सिद्धार्थ नगरबाट चैत १७ गते पानीमा भिज्दै मोटरसाइकलमा सुपा देउराली मन्दिर दर्शन गर्न आएका आलोक मिश्रा मन्दिरको दर्शन पनि आफूलाई निकै आत्मसन्तुष्टि प्राप्त भएको बताए। उनले सुपा देउराली माताका बारेमा धेरै सुनेको र दर्शनका लागि आउने अवसर धेरै समयपछि मिलेको बताए । “माताको दर्शन गर्न पाउँदा भिजेको पनि कुनै परवाह भएन”, उनले भने, “सुपा देउराली माताका बारेमा धेरै सुनेको थिएँ आज दर्शन गर्न पाउँदा आनन्द प्राप्त भयो । फेरि परिवारसहित समय मिलाएर आउँछु ।” कपिलवस्तुबाट सुपा देउराली मन्दिरको दर्शनका लागि पुगेकी याशोधा थापालाई बर्सेनि मन्दिरमा पूजाआजा नगरी मनले मान्दैन । उनी भन्छिन्, “कम्तीमा वर्षमा एक पटक त आउँछु नै, कुनै वर्ष त दुई÷तीनचोटि पनि आउँछु ।” स्थानीयवासी ओमबहादुर थापाले सुपादेउराली मन्दिर दर्शन गर्न र नरपानी आएका पर्यटकलाई भुलाउन पर्यटकीय संरचना निर्माण गर्नुपर्ने बताउँछन् । उनले सुपा देउराली मन्दिर क्षेत्रमा आउने पर्यटकलाई घुम्ने, रमाउने र भुलाउन खालका संरचना निर्माण गर्ने र व्यवस्थित गरेर संरचना बनाएमा धेरै युवाले स्थानीयस्तरमै काम पाउने उनले बताए । यस तीर्थस्थलको स्थापनाका सम्बन्धमा विभिन्न किंवदन्ती पाइन्छ । मन्दिर परिसरमा भगवान् रामकी पत्नी सीताले बनाएको चुलो, जाँतो, विभिन्न शिलासमेतले यसको अस्तित्व त्रेतायुगदेखि नै भएको विश्वास गरिन्छ । किंवदन्तीअनुसार खाँची घर भएका एक व्यक्ति धन कमाउन भारत जानुभन्दा अघि सुपादेउराली मातासँग राम्रो जागिरको प्रार्थना गर्दै राम्रो होस् र फर्केर आउँदा भेटी चढाउनेछु भनी ढोग गरेर गएको र भारत बसाइमा उनले राम्रै धन कमाएर फर्केर आउँदा भेटी नचढाई मन्दिरमाथिको जङ्गलको बाटो हुँदै जाँदा जङ्गलबीच बाटोमा सुपामाईले पहाडको चट्टानमा लाहुरेलाई टाँसेको किंवदन्ती छ । मन्दिरमा दर्शन गर्न आएका धेरै भक्तजनहरूका लागि लाहुरे टाँसेको पहाड पनि निकै आकर्षण बनेको छ । त्यस्तै, बाइसे चौबिसे राज्यका समयमा खाँचीकोट राज्यका राजकुमारी र भारतको बलराम पुरकी राजकुमारबीच विवाह गरी घरतर्फ ल्याउँदा बाटोमा केही कुरा ढाँटछल गरी विवाह गरेको हल्ला दुलहीले सुनिछन् । डोलीमा बोकेर ल्याएकी दुलहीलाई हालको मन्दिर भएको स्थानभन्दा करिब ५० मिटर दक्षिणमा ल्याई पु¥याउँदा रगतको थोपा झरेछ । अनि सुपा देउराली मन्दिर रहेको ठाउँमा आई डोलीमा हेर्दा दुलही मृतावस्थामा भेटिइन् । सो घटनापछि खाँचीकोटमा विभिन्न रोगब्याधी महामारी फैलियो । पछि एकजना खनाल थरका ज्योतिषीले धामीझाँक्री गर्दा त्यहाँ दैवी शक्ति उत्पत्ति भएको र कालो पाठी बलि दिनुपर्छ भनेपछि त्यही समयदेखि हालसम्म त्यस राज्यका राजा ठकुरी (शाह) राजाका रजौटा खड्का, कब्दार र नेवार थरका समुदायले कूल पूजा गर्दै आएको पाइन्छ । खनाल थरका बह्माण मूल पुजारी रहेको यस मन्दिरमा दैनिक व्यवस्थापनमा दुई, पुजारी दुई र सहयोगी एक गरी पाँचजना खटाइएको समितिले जनाएको छ ।
विदेशी पर्यटकको रोजाइ बन्दै घरबास गलकोट। बागलुङको घरवास गाउँको रुपमा परिचित भकुण्डेमा पछिल्लो समय विदेशी पर्यटकको आगमन बढ्दो छ। आन्तरिक पर्यटकको आकर्षणको रुपमा रहेको भकुण्डेस्थित अतिथि सत्कार घरबासमा पछिल्लो समय विदेशी पर्यटकसमेत आउन थालेका छन्। हेलिकप्टरमार्फत विदेशी पर्यटक आउने गरेको बागलुङ नगरपालिका–१० भकुण्डे घरबासमा विश्व भेगन अर्गनाइजेशनले पहिलो पटक पदमार्ग हुँदै कोरोना अघिदेखि विदेशी पर्यटक भित्र्याउन थालेको थियो। हालसम्म सो संस्थाले भकुण्डेमा लगातार विदेशी पर्यटक भित्र्याइरहेको पर्यटन व्यवसायी महादेव शर्माले जानकारी दिए। “केही विदेशी पर्यटक भकुण्डेमा आउने गरेका रहेछन्, अत्यधिक पर्यटक भनेको आन्तरिकनै रहेछ, तर हामीले भेगनमा आवद्ध १७ देशका पर्यटकलाई पहिलो पटक भकुण्डे भित्र्यएका हौंँ, अहिले पनि भकुण्डेमा विभिन्न दशेका विदेशी पर्यटक आइराख्नुभएको छ”, शर्माले भने, “आर्थिक सङ्कटकका कारण अन्तरिक पर्यटक घटेको घरबासमा विदेशी पर्यटक भने अध्ययन, अवलोकन गर्न, घरबासमा रमाउन आउने गरेका छन्।” बागलुङ बजारदेखि तीन घण्टाको पैदल र डेढघण्टाको यातनयात साधनमा पुग्न सकिने भकुण्डे गाउँमा घरबाससँगै पर्यटकीय ताल, दृश्यावलोकनका लागि बनाइएको भ्यूटार लगायतका संरचनाले समेत आकर्षण थप्ने गरेको छ। आन्तरिक पर्यटकले भरिभराउ हुने अतिथि सत्कार घरवासमा आर्थिक सङ्कटका कारण आन्तरिक पर्यटकमा केही कमी आए पनि विदेशी पर्यटक बढेको अतिथि सत्कार सामुदायिक घरबासका सञ्चालक समितिका अध्यक्ष मुना थापाले बताए। “२०७३ सालमा स्थापना भएको घरबासमा मुख्य पर्यटक आन्तिरकनै हुन्, तर कोरोनापछि विदेशी पर्यटकसमेत आएका छन्, चैत महिनामा मात्रै तीन समूहमा विदेशी पर्यटक आइसकेका छन्,” थापाले भने, “चैत महिनामा मात्रै बेलायत, अमेरिका, क्यानडा र कोरियाका पर्यटक आउनुभएको छ, यहाँको भौगोलिक वातावरण, दृश्यावलोकन, स्वागत तथा बिदाई संस्कृति र मगर संस्कृतिका कारण पर्यटक आकर्षति हुने गरेका छन्।” पछिल्लो समय प्रचारप्रसारका कारण विदेशी पर्यटक आउन थालेको घरबासका सञ्चालक याम थापाले बताए। उनले गैर सरकारी सङ्घ संस्थामा काम गर्न आउनुभएका विदेशी पर्यटकसमेत घरबासको परिकारको स्वाद लिन यहाँ आउने गरेका छन् भने। पछिल्लो समय यहाँका घरबासको स्तरोन्नति गरिएको छ। पर्यटक लक्षित गरी तातो चिसो पानी, व्यवस्थित स्नान घर, पार्क तथा सांस्कृतिक सङ्ग्रहालय लगायतको विकास गरिएको छ। जिल्लाकै पहिलो घरबासका रुपमा स्थापना भएको अतिथि सत्कार घरबास अहिले भकुण्डे गाउँको आठ घरमा सञ्चालित छ। घरबासमा एकै रात ५० जना पाहुना राख्न सकिने छ भने पछिल्लो पटक पाहुनाको रोजाइ अनुसारको सेवा सुविधा दिइँदै आएको छ। भकण्डेको शिरमा हीरा ताल र तल बराहतालसमेत रहेका छन्। स्थानीय उत्पादनको स्वादको मजा लिन, हिमशृङखलाको मनोरम दृश्य हेर्न, बिदा समयको सदुपयोग गर्दै प्रकृतिसँग रमाउन आन्तरिक र बाह्य पर्यटक घरबाससम्म पुग्ने गरेका छन्। विसं २०७३ मा पर्यटन कार्यालय पोेखराबाट दर्ता भई आधिकारिक रुपमा सञ्चालनमा आएको बागलुङ नगरपालिका–१० भकुण्डेमा रहेको जिल्लाकै पहिलो अतिथि सत्कार होमस्टे पर्यटकको लागि गन्तव्य बनिरहेको छ। समयसमयमा घरबासमा बस्न अमेरिका, कोरिया र चिनियाँ लगायतका देशबाट पर्यटक आउने गरेको घरबास सञ्चालक समितिका अध्यक्ष खिमबहादुर थापाले बताए। घरबास सञ्चालकले गाउँमै उत्पादन गरेको आलु, भटमास, मकै, मुला, कोदोको ढिँडो, सिस्नो, गुन्द्रुक तथा खसी र कुखुराको परिकार पाहुँनाको रोजाइ अनुसार खुवाउने गरिएको छ। भकुण्डे पुग्ने सडक पक्की बनाउन सके थामिनसक्नु पर्यटक पुग्ने स्थानीयवासीको भनाइ छ। – रासस
बागलुङका ३७ वडा पहिराको उच्च जोखिममा बलेवा। बागलुङ जिल्लाको दशवटा स्थानीय तहका ८५ वडामध्ये ३७ वडा पहिराको उच्च जोखिममा र ३१ वडा मध्यम जोखिममा परेका छन्। मनसुनजन्य प्रकोपको स्तरीकरण गर्दा बागलुङ जिल्ला नै पहिराको उच्च जोखिममा पर्छ। जिल्ला विपद् व्यवस्थापन समितिले विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण गर्ने सिलसिलामा प्रकोपको स्तरीकरण गर्दा बागलुङ पहिराको प्रकोपमा पहिलो नम्बरमा परेको हो। पहिराकै कारण हरेक वर्ष यहाँका नागरिकले ज्यान गुमाउनु परेको छ। जिल्लाका दस स्थानीय तहबाट सङ्कलन गरिएको तथ्याङ्क तथा जिल्ला प्रशासन कार्यालयमा प्राकृतिक प्रकोपका लागि वितरण गरिएको राहतको विवरणअनुसार पहिराको प्रकोपबाट अधिकांश स्थानीय तहका वडा समस्यामा परेको पाइन्छ। जिल्लाका कूल ८५ वडामध्ये पहिराको प्रकोपमा ३७ वटा वडा उच्च जोखिम, ३१ वडा मध्यम जोखिम र १७ वडा निम्न जोखिमको सूचीमा छन्। मनसुनजन्य आपत्कालीन कार्ययोजना–२०७९ मा उल्लेख भएअनुसार पालिकाका मुकाम रहेका वडाहरुसमेत पहिराको जोखिममा छन्। जोखिममा सामुदायिक विद्यालयसमेत समावेश छन्। यस वर्ष २० सामुदायिक विद्यालय भवनमा पहिराले असर पार्नसक्ने जिल्ला विपद् व्यवस्थापन समितिको अनुमान छ। सबै स्थानीय तहमा व्यवस्थापन पूर्वको तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले जानकारी दिइन्। मनसुन सक्रिय हुनुपहिले नै विपत् पूर्व, विपत् भएको समय र विपत्पश्चात् गर्नुपर्ने कामका बारेमा सरोकारवाला निकायसँग समन्वय र साङ्गठनिक जिम्मेवारी बाँडफाँड गरिएको उनले बताइन्। कालीगण्डकी, बडिगाड, दरमखोला, निसीखोला, भुजीखोला, तमानखोला, ठेउलेखोला, अँधेरीखोला, दरौँदीखोला, उत्तरगङ्गालगायत खोला तथा नदी किनारका बस्तीहरु बाढीको जोखिममा छन्। पहिरो प्रकोपका कारणले जिल्लाभर करिब ३० हजार व्यक्तिलाई असर पर्नसक्ने अनुमान गरिएको छ। पहिराको प्रकोपबाट घरगोठमा क्षति पुग्न सक्ने, बालबालिका, वृद्धवृद्धाहरु, गर्भवती, सुत्केरी, अपाङ्ग व्यक्ति, दलित र अति गरिबलाई बढी असर पर्ने विपत् प्र्रतिकार्य योजनामा उल्लेख छ। यहाँका सबै खोला किनारका तटीय क्षेत्रहरु जोखिममा छन्। कार्ययोजनाले उद्धार राहत तथा पुनःस्थापना र सचेतनाका लागि उपलब्ध साधन स्रोतको समेत तथ्याङ्क तयार गरेको छ। जिल्लाका अधिकांश बस्ती, सडक, भल तथा बाढीका कारण जोखिममा पर्ने स्थानीय तहको पूर्वानुमान छ। स्थानीय तहले गत वर्ष तयार गरेको बाढी पहिरो पीडितको तथ्याङ्क र यो वर्षको सम्भावित जोखिमको अवस्था हेरेर तथ्याङ्क तयार गरेकोे हो।
प्युठानमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु काठमाडौं । प्युठानको माण्डवी गाउँपालिका ५ रम्दी चिनामा आज ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । मृत्यु हुनेमा ट्याक्टरमा सवार प्युठानकै नौबहिनी गाउँपालिका १ ठुलागाउँका २५ वर्षीय चम्फा बिक रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका चम्फाको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बिजुवारले जनाएको छ । दुर्घटनामा घाइते भएका चालकसहित तीनजनाको उपचार सोही अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये चालकको अवस्था गम्भीर रहेको छ । रा १ त ४१ ५६ नम्बरको ट्याक्टर अनियन्त्रित भएर आज बिहान ८ बजे सडकबाट एक सय मीटर तल खसेको थियो ।
बिस्केट जात्रा : आज बिहान रथलाई गःहिटी पुर्‍याइयो भक्तपुर। बिस्केट जात्राका लागि तानिएको भैरबको रथ आज बिहान दत्तात्रय नजिक थियो। दत्तात्रयदेखि इनाचोसम्म सडकभरि फुटेका छरपष्ट इँटा र ढुङ्गा देख्दा बिहान यही बाटो भएर ओहोरदोहोर गर्नेहरूले सहजै अनुमान लगाउँथे कि यसवर्ष पनि बिस्केट जात्रामा मध्यराति ढुङ्गा हानाहान भयो। कतिपयले बिहानै सामाजिक सञ्जालमा यसको फोटो तथा भिडियो पोष्ट गर्दै ढुङ्गा हानेर जात्राको पहिचान मेटाउन खोज्नेलाई कारबाहीको माग गरे। हिजोदेखि सुरु भएको बिस्केट(बिस्काः) जात्रामा भैरबको रथ तान्ने क्रममा मध्यराति दत्तात्रयमा पुगेपछि करिब १ बजेतिर ढुङ्गा हानाहान भएको थियो। बिहान ४ बजेसम्म ढुङ्गा हानाहान हुँदा २३ जना घाइते भए। भक्तपुर प्रहरी परिसरका प्रहरी उपरीक्षक प्रजित केसीले ढुङ्गा हानाहान हुँदा २३ जना घाइते भएको जानकारी दिए। उनले घाइते सबैको उपचार गरी राति नै घर फर्काइएको र कसैको पनि अवस्था जटिल नरहेको बताए। ढुङ्गा हानाहान गर्ने दस जनालाई प्रहरीले राति नै पक्राउ गरेको थियो। उनले भने, “जात्रामा ढुङ्गा हानाहान गर्ने दस जनालाई प्रहरीले राति नै ढुङ्गा हान्दै गर्दा पक्राउ गरेको र सिसी क्यामरा तथा अरु माध्यमबाट थप ढुङ्गा हान्नेहरु पहिचान गरी पक्राउ गर्नेछौँ। पक्राउ परेकालाई प्रचलित कानुन बमोजिम कारबाही गर्छौ।” प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बिस्केट जात्रा स्थानीयवासीको ऐतिहासिक र मौलिक जात्रा भएकाले जात्रामा सुरक्षाकर्मीले हस्तक्षेप नगरेको तर ढुङ्गा हान्ने क्रम नरोकिएपछि प्रहरीले पक्राउ गरेको बताए। उनले मानवीय क्षति नभएको जानकारी दिँदै जात्रा अवधिभर शान्ति सुव्यवस्था कायम गराउन थप सुरक्षा रणनीति अपनाउने जानकारी दिए। आठ रात र नौ दिनसम्म भव्यरूपमा मनाइने ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको बिस्काः जात्राको पहिलो दिन भैरबको रथ तान्दा ढुङ्गा हानाहान भएको हो। प्यागोडा शैलीमा निर्माण भएको रथमा बिहानदेखि सबै पूजा सम्पन्न गरेर दिउँसो ४ बजेदेखि प्यागोडा शैलीमा निर्माण भएको रथभित्र भैरबनाथको मूल देवता र अगाडि बेताल देवतालाई विराजमान गराई मन्दिर प्राङ्गणबाट थने(माथिल्लो) र क्वने(तल्लो) टोलतर्फ सोमबार रथ तान्न सुरु गरिएको थियो। रथ तान्ने क्रममा सुरुमै माथिल्लो टोलकाले रथ लैजाने क्रममा रथलाई बुलुबुलु हिटी (सुकुलढोका), इनाचो हुँदै मधयराति १ः३० बजे दत्तात्रय नजिक रथलाई पुर्‍याएका थिए। रथलाई राति नै गःहिटी ल्याउनुपर्नेमा ढुङ्गा हानाहान भएपछि बिथोलिएकाले दत्तात्रयमै राख्नुपरेको थियो। आज बिहान स्थानीयवासीको सहायतामा रथ तानेर बिहान नौ बजे गःहिटीमा राखिएको प्रहरी उपरीक्षक केसीले जानकारी दिए। उनले भने, “राति ढुङ्गा हानाहान भएपछि रथलाई गःहिटी ल्याउन सकिएन, त्यसैले आज स्थानीयवासीलाई आग्रह गरिएको र उनीहरुले नै रथ तानेर गःहिटी पुर्‍याएका छन्।” भक्तपुरमा बिस्काः जात्रा भैरवनाथ र भद्रकालीको रथ तानेर सुरु गरिन्छ। रथको अगाडि र पछाडि राखिने डोरीलाई अष्टमात्रिका गणका रूपमा लिने गरिन्छ। विक्रम संवत् अनुसार सौर्यमासको आधारमा चल्ने यो जात्रा बिःसीत अर्थात् सर्प म¥यो भन्ने आधारमा लिच्छविकालदेखि मनाउँदै आएको पाइन्छ। थिमिमा प्राप्त नेपाल संवत् ५०० को तमसुकपत्रमा यो जात्रा विश्व केतुलाई सम्झाउने पर्यायका रूपमा बिसिक शब्द उल्लेख भएको पाइएको संस्कृतिविद् एवं इतिहासविद् पुरुषोत्तमलोचन श्रेष्ठले बताए। तौमढीस्थित यक्ष मल्लको पालाको शिलालेखमा बिस्केट जात्रालाई विश्वजात्रा उल्लेख गरिएको छ भने दरबारस्क्वायरमा रहेको नेपाल संवत् ८०८ र ८१८ को राजा जितामित्र र भूपतेन्द्र मल्लको पालामा लेखिएको अभिलेखमा विश्क्यात शब्द उल्लेख गरिएको उनको भनाइ थियो। अहिले पनि तलेजुमा बिस्काः जात्राको सङ्कल्पस्वरूप पूजाअर्चनामा विश्व जात्रा नै उल्लेख गरिन्छ। संस्कृत शब्द विश्वकेतु नै पछि नेवारी नामकरण हुँदै बिसिका, बिस्क, बिक्का, बिस्काः हुँदै हाल बिस्केट जात्रा हुन पुगेको संस्कृतिविद् श्रेष्ठले उल्लेख गरे। बिस्केट जात्रामा भैरबको धेरै चर्चा गरिए पनि यो जात्रा विश्वनाथ भैरवको मात्र नभएर उनको शक्ति भद्रकालीको पनि भएको बताइन्छ। विश्व भैरवनाथको प्रतीकका रूपमा लिङ्गोमा फहराइने एक जोडी ध्वजामा साक्षात् भैरव र भद्रकाली रहेको उल्लेख छ।
१२ लाख ३१ हजार लागतमा निर्माण बयाना बर्थिङ सेन्टरको ताला चार वर्षपछि खुल्यो बझाङ। खप्तडछान्ना गाउँपालिका – ६ बयानामा विवादका कारण चार वर्षदेखि बन्द भएको बयाना बर्थिङ सेन्टर सञ्चालनमा आएको छ। तत्कालीन पाटादेवल गाविसबाट रु दुई लाख ३१ हजार र गाउँपालिकाको १० लाखको लागतमा निर्माण गरिएको उक्त सेन्टर उद्घाटन नहुँदै विवादका कारण बन्द भएको थियो। गाउँमा छलफल नै नगरेर जानकारी बिना नियम विपरीत बर्थिङ सेन्टर सञ्चालन गरेको र जग्गादातालाई कार्यालय सहयोगी राख्नुपर्ने माग राख्दै २०७६ कात्तिक महिनामासो सेन्टरमा तालाबन्दी गरिएको थियो। सञ्चालनको तयारीमा रहेको सेन्टरमा तालाबन्दी गरेपछि भौतिक तथा स्वास्थ्य सामग्री प्रयोगविहीन बन्नुका साथै सेन्टरको झ्याल ढोकासमेत तोडफोड भएका थिए। सेन्टर निर्माण भएपछि दुई दिन मात्रै सञ्चालनमा आयो। उद्घाटन र औषधि खरिद गरी सञ्चालनमा आएको सेन्टर तेस्रो दिनदेखि जग्गादाता झुरु थापाले ताला लगाएका थिए। निवर्तमान महिला सदस्य कृष्णादेवी थापाका अनुसार सेन्टर बन्द भएपछि गाउँका गर्भवती र सुत्केरी महिला मारमा परे। सेन्टर अलपत्र परेको र सुत्केरी महिलाको समस्या यथावत् रहेको गुनासो आएपछि गाउँपालिकाले सोमबार स्थानीयसँग समन्वय गरेर सञ्चालनमा ल्याउने निर्णय गरेको हो। सोमबार खप्तड छान्ना गाउँपालिका – ६ का वडाध्यक्ष तेजबहादुर खड्काको अध्यक्षतामा सेन्टर सञ्चालनको विषयमा छलफल गरिएको बताइएको छ। सेन्टर निर्माण गर्नुअघि जग्गादाताको घरबाट एक जनालाई कर्मचारी बनाउने सहमति भएकाले उक्त सहमति अनुसार नै जग्गादाता थापाको घरबाट एक जनालाई कर्मचारी बनाउने निर्णय गरिएपछि ताला खोलिएको गाउँपालिकाका उपाध्यक्ष विष्णु थापाले बताए। उपाध्यक्ष थापा, सम्पूर्ण वडाका वडाध्यक्ष र स्थानीयवासीको रहोवरमा सेन्टर सञ्चालन गर्ने सहमति भएको वडाध्यक्ष तेजबहादुर खड्काले जानकारी दिए। गाउँमा सुत्केरी व्यथा लागेका महिलालाई बोकेर टाढा रहेको स्वास्थ्य संस्थामा लानुपर्ने बाध्यता रहेकोमा अब यो समस्या हट्ने बताइएको छ।
उपचार खर्च तिर्न नसक्दा छोराछोरीसँगै मन्तोरिया अस्पतालमै बन्धक धनुषा। मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी धनुषाको सबैला गाउँपालिका-९ की मन्तोरिया राय उपचारवापतको खर्च बुझाउन नसक्दा अस्पतालमै बन्धक छिन्। गत माघ १२ गते उहाँलाई मोटरसाइकलले ठक्कर दिएको थियो। गम्भीर घाइते अवस्थामा मन्तोरियालाई उपचारका लागि जनकपुरधाम मुरलीचोकस्थित न्यूरो अस्पताल गरिएको थियो। उपचार भएपछि उनलाई अस्पतालले गत फागुन २० गते घर फर्काउने निर्णय गरेको थियो। तर अस्पतालमा उपचारवापतको खर्च तिर्न नसक्दा मन्तोरिया घर जान सकेकी छैनन्। उनी अस्पतामै तीन छोराछोरीसहित बन्धक छिन्। उनले अस्पताललाई उपचारवापतको रु छ लाख ६९ हजार तिर्न बाँकी छ। सो रकम तिर्न नसक्दा मन्तोरिया अस्पतालबाट घर फर्कन नपाएकी हुन्। उनीसँगै वृद्ध ससुरापनि अस्पतालमै रहेका छन्। “हमरा सभके खाइला नै पुगै है, अतेक रुपैयाँ तिरक घर केना जेबै, हमर बालबच्चाके केना पलेतै हौँ (हामीलाई खानै पुग्दैन। यति पैसा कहाँबाट तिरेर घर जानु, मेरो बालबच्चाको लालनपालन कसरी हुन्छ?”, मन्तोरिया रायले रुँदै भनिन्। कान्छो छोराको बालपोषण भत्ता लिन गत माघ १२ गते मन्तोरिया सबैला बजारको एक बैंकमा खाता खोल्न गएकी थिइन्। बैंकमा खाता खोलेर पैदल फर्किरहेका बेला सत्तोखर गोविन्दपुर सडकखण्डमा बा६१प ६६३३ नंको मोटरसाइकलले उनलाई ठक्कर दियो। प्रत्यक्षदर्शीका अनुसार मोटरसाइकलको ठक्करबाट सडकमा लडेकी मन्तोरियालाई मोटरसाइकलले ४०-५० मिटर परसम्म घिसारेको थियो। यसरी सडकमा घिसारिएपछि उनको शरिरको विभिन्न भागमा चोट लाग्यो। मोटरसाइकल धनुषाकै सहिदनगर नगरपालिका-१ बेमर्खी टोलका २५ वर्षीय दीपककुमार रायले चलाएका थिए। सोही ठाउँका ३५ वर्षीय गजेन्द्र यादव पछाडि सवार थिए। चालक राय तत्कालै समातिए। पछाडि बसेका यादव भने अहिलेसम्म फरार छन्। चालक रायको घरपरिवारको अवस्था दयनीय छ। उनी मन्तोरियालाई भेट्न अस्पतालसमेत आएनन्। दुर्घटनापश्चात मन्तोरियाका ससुरा रामप्रसादले प्रहरीमा मोटरसाइकलका चालक राय र पछाडि सवार यादवमाथि किटानी जाहेरी दर्ता गराएका थिए। अङ्गभङ्ग मुद्दामा चालक राय हाल जिल्ला अदालत धनुषाको आदेशमा सिन्धुली कारागारको थुनामा छन्। मन्तोरियाको परिवारले जसोतसो ऋण काढेर र समाजबाट चन्दा उठाएर पाएको झन्डै रु १० लाख अस्पताललाई तिरेको छ। तर बाँकी पैसो तिर्न उनीसित कुनै उपाय छैन। मन्तोरिया आफूलाई घर फर्किने वातावरण बनाइदिन हारगुहार गर्दै आएकी छन्। सुरुमा दुर्घटनापछि उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको थियो। तर त्यहाँ उपचार सम्भव नभएपछि न्यूरो अस्पतालमा भर्ना गरिएको थियो। मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत रहेको प्रादेशिक अस्पतालले यसरी नै गम्भीर प्रकृतिका बिरामी घाइतेलाई उपचार नगरी निजीमा सिफारिस गर्ने गरेका छन्। अहिले ३० वर्षीया मन्तोरियासँगै दुई छोरा र एक छोरी पनि आमासँगै घर जाने दिनको प्रतीक्षामा छन्। मन्तोरियाको सम्पत्तिका नाममा केवल दुई धुर घडेरीमा छाप्रो छ। उनीसँगै आठ वर्षीया छोरी वर्षा, पाँच वर्षीय छोरा महेश्वर, तीन वर्षीय उमेश र ७१ वर्षीय ससुरा रामप्रसाद अस्पतालमामै बस्न बाध्य छन्। रामप्रसादले जसोतसो बुहारीको हेरचाह गरेका छन्, तीन नाति-नातिना सम्हालेका छन्। मन्तोरियाका पति रामबहादुर राय वैदेशिक रोजगारीका सिलसिलामा कतारमा छन्। गत कात्तिकमा रामबहादुर कतार गएदेखि मन्तोरियाले घर सम्हाल्दै थिइन् तर, दुर्घटनामा परेदेखि सारा परिवार नै नराम्ररी बिथोलिएको छ। पति रामबहादुरको पनि कमाइ छैन। उनी गएको कम्पनी बन्द भएर घर फर्किने अवस्था आएको मन्तोरियाले सुनाइन्। अस्पतालका व्यवस्थापक सञ्जय मण्डलले मन्तोरिय अस्पताल भर्ना हुँदा बाँच्ने सम्भावना निकै कम भए पनि अस्पतालको समुचित रेखदेख र उपचारले उनलाई बचाएको बताए। मण्डलका अनुसार मन्तोरियाको पेटमा तीनवटा शल्यक्रिया भएको छ। केही भाग आन्द्रा काटेर हटाइएको छ। दुवै खुट्टाको घुँडादेखि पैतालाको बीचको भागको हाँड भाँच्चिएकाले शल्यक्रिया गरी दुवैमा स्टिल जडान गरिएको छ। दायाँ हात पनि भाँच्चिएको थियो। अस्पतालका व्यवस्थापक मण्डलले भने, “जुन अवस्थामा मन्तोरिया भर्ना हुनुभो। बाँच्ने अवस्था न्यून थियो। तर हामीले भरपुर प्रयास गरेर सबै शल्यक्रिया सफल पार्‍याैं। दुई महिनापछि उहाँ अलिअलि हिँड्ने, बोल्ने अवस्थामा आउनुभएको छ”, ठक्कर दिने र घरपरिवारले उपचार खर्च तिर्न नसक्दा उनको उपचारमा अस्पताल नराम्ररी फसेको छ। मन्तोरिया देवीको विषयमा थाहा पाएर सबैला नगरपालिकाका प्रमुख कारीराम यादव सोमबार अस्पताल पुगेर अवस्था बुझेका छन्। उनले दुई दिनभित्र मन्तोरियालाई अस्पतालबाट मुक्त गराएर लग्ने आश्वासन दिएका छन्। नगरप्रमुख यादवले भने, “यस विषयमा सबैला कार्यपालिकाको बैठक राखेर छलफल गर्छौँ, उपचार खर्चबारे के गर्न सकिन्छ उचित निर्णय गर्छौँ। यो घटनालाई गम्भीरतापूर्वक लिएका छौँ।” त्यसैगरी जिल्ला प्रशासन कार्यालय धनुषाबाट प्रशासकीय अधिकृत किरण मिश्रको नेतृत्वमा टोली सोमबार मन्तोरिया बन्धक भएको घटनाबारे बुझ्न अस्पताल पुगेको थियो। टोलीले अस्पतालको अनुगमनसमेत गरेको छ।
आगामी वैशाख १ गतेदेखि विराटनगरमा गुट्खा, खैनी र चुरोट निषेध विराटनगर । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले नयाँवर्षको वैशाख १ गतेदेखि सार्वजनिक स्थलहरूमा धुमपान, खैनी, चुरोट, पानपराग, गुट्खालगायतको सेवन गर्न निषेध गर्ने भएको छ । गत पुस २७ गते बसेको नगरसभाको निर्णयानुसार महानगर क्षेत्रभित्र ध्रुमपानदेखि प्रेसर हर्न बजाउन निषेध (नो हर्न) गर्न लागिएको महानगरका प्रमुख नागेश कोइरालाले जानकारी दिए । ध्वनि प्रदूषण नियन्त्रण गर्ने महानगरको योजनाअन्तर्गत सवारी साधनको प्रेसर हर्न बजाउन निषेध गर्न लागिएको उनको भनाइ छ । केही हप्ताअघि महानगरले धार्मिक सङ्घसंस्था, साउन्ड सिस्टम प्रतिनिधिलगायतलाई बोलाएर ध्वनि प्रदूषण नियन्त्रण एवं धुमपान र गुट्खा, खैनी खाएर सहर फोहोर गर्ने गरेका विषयमा छलफल गरेको थियो । विराटनगर कोशी प्रदेशको राजधानीसँगै प्रदेशको एकमात्रै महानगरपालिका भएकाले यसलाई व्यवस्थित र सभ्य बनाउने दायित्व सबैको भएको प्रमुख कोइरालाले बारम्बार दोहो¥याउँदै आएका छन् । उनले महानगरले सरसफाइ, फुटपाथ नियन्त्रण, सडकलाई पार्किङ निषेध, कर सङ्कलनलगायतका अभियान सञ्चालन गरिरहेको सुनाए । पार्किङस्थललाई व्यवस्थित बनाउने कार्य भइरहेकाले केही दिनभित्रै विगतको निर्णय प्रभावकारी रुपमा कार्यान्वयन गरिने प्रमुख कोइरालाको भनाइ छ । उनले महानगर क्षेत्रभित्र प्रेसर हर्न नबजाइदिन सरोकारवालालाई आग्रह पनि गरेका छन् । “विराटनगर हामी सबैको हो, यसलाई हामी सबै मिलेर व्यवस्थित र सभ्य सहरका रुपमा स्थापित गर्नुपर्छ”, प्रमुख कोइरालाले भने, “सहरको सुन्दरता र सभ्यतासित ध्वनि प्रदूषण पनि जोडिएको हुन्छ । महानगरले अघि सारेको अभियानमा सबैको साथ रहने मैले विश्वास लिएको छु ।” ध्वनि प्रदूषण नियन्त्रणका लागि महानगरवासीबाट थुप्रै सुझाव आएको उपप्रमुख शिल्पा निराला कार्कीले जानकारी दिइन् ।
आगलागीबाट चार घर पूर्ण रुपमा नष्ट खजुरा । बाँकेको जानकी गाउँपालिका–५ स्थित बकसपुर बस्तीमा आगलागी भएको छ । आगलागीले बस्तीका चार घरमा पूर्ण रुपमा क्षति भएको छ भने दुई घरमा सामान्य क्षति भएको छ । आगलागीबाट दुईवटा बाख्रा र केही कुखुरा आगोमै जलेर मरेको गाउँपालिकाका प्रवक्ता तथा वडा नंं ५ का अध्यक्ष टीकानाथ यादवले बताए । उनका अनुसार दिउँसोदेखि सुरु भएको आगलागी अघि बेलुका नियन्त्रणमा आएको छ । खरानीसँगै फालिएको आगोबाट आगलागी भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एवं प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए । कोहलपुर नगरपालिका र नेपालगञ्ज उपमहानगरपालिकाबाट गएको तीनवटा दमकल, प्रहरी र स्थानीयवासीको समूहले आगो नियन्त्रणमा लिइएको थियो । आगलागीले घर पूर्ण रुपमा क्षति भई विस्थापित भएका अग्निपीडितलाई २५ किलो चामल, रहरको दाल पाँच किलो, दुई प्याकेट नुन, खाने तेल पाँच लिटर, आलु १० किलो, बेसार, खुर्सानी एक–एक प्याकेट, त्रिपाल एक–एक थान, भुजा एक प्याकेट र चिनी एक किलो तत्काल राहत पु¥याइएको जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँले बताए ।
बिस्केट जात्रा सुरु भक्तपुर । आठ रात नौ दिनसम्म भव्यरुपमा मनाइने भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको बिस्काः अर्थात् बिस्केट जात्रा सोमबारबाट सुरु भएको छ । बिस्केट जात्रा टौमढीस्थित पाँचतले मन्दिर अगाडिबाट भैरवनाथको रथ तानातान गर्दै सुरु भएको हो । काठैकाठले प्यागोडा (छाने) शैलीमा निर्मित तीनतले रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतले मन्दिर प्राङ्गणबाट थने (माथिल्लो) र क्वने (तल्लो) टोलमा तानेर लैजाने परम्परा छ । जात्राको दोस्रो दिन शून्य भनिन्छ । तेस्रो दिन गःहिटीमा भैरवनाथलाई बली चढाई गुठी संस्थानद्वारा सरकारी पूजा गरिन्छ । बिस्काको चौथो दिन बिहान तालाक्वस्थित कुमाले टोलमा ल्हामरु म्ह (हात नभएको) लिङ्गो उभ्याइन्छ भने साँझपखः तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरी ल्योसिङख्योमा ५५ हात लामो लिङ्गो उभ्याइन्छ । बिस्का जात्राको पाँचौँं दिन अर्थात् नयाँ वर्ष वैशाख १ गतेका दिन साँझ अघिल्लो दिन उभ्याएको ५५ हाते लिङ्गो ढालिन्छ । बिस्काको छैटौँ दिन महाकाली र महालक्ष्मीको जात्रा गरिन्छ भने सातौँ दिन ब्रम्हायणी र महेश्वरी देवीको चिराग बालेर मुस्याप्वा जात्रा मनाइन्छ । जात्राको अन्तिम दिन भैरवनाथको रथलाई गःहिटीबाट पहिलो दिनमा जस्तो थने र क्वने टोलका बासिन्दाबाट तानातान गरी रथलाई तमारीस्थित भैरवनाथको प्राङ्गणमा पु¥याई जात्रा सम्पन्न गरिन्छ ।
सालकको खपेटासहित दुईजना पक्राउ ललितपुर । ललितपुर महानगरपालिका-१७ ग्वार्कोबाट ५ सय ग्राम तौल भएको सालकको खपेटासहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर बागमती गाउँपालिका–९ घर भई ललितपुर गोदावरी नगरपालिका–११ चापागाउँ बस्ने ३६ वर्षीय डगरमान डिमडुङ्ग र ललितपुर गोदावारी नगरपालिका–२ घर भई सोही नगरपालिका–७ थैव बस्ने ३५ वर्षीय सुरज तामाङ रहेका छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त तौलको खपेटासहित फेला पारी पक्राउ गरेको हो ।  उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि डिभिजन वन कार्यालय गोदावारी ललितपुरमा पठाइएको छ ।
कोशी प्रदेशको नाम खारेजीका लागि खोटाङमा एक हजार २०३ सदस्यीय संघर्ष समिति खोटाङ ।  कोशी प्रदेशको नाम खारेजीको मागमा आन्दोलन चर्काउनका लागि खोटाङमा एक हजार २०३ सदस्यीय पुनः नामांकन संयुक्त संघर्ष समिति गठन गरिएको छ । कोशी नाम खारेज गरी किरात प्रदेश नामाकरण गराउन दबाबमुलक आन्दोलनलाई सशक्त बनाउनका लागि किरात राई यायोक्खाका अध्यक्ष युगसन किरातको संयोजकत्वमा पुनः नामांकन संयुक्त संघर्ष समिति गठन गरिएको हो । आइतबार ज्येष्ठ अगुवा पर्खनबहादुर राईको अध्यक्षतामा बसेको आदिवासी जनजाती महासंघ, यायोक्खा, जातीय संगठन, पहिचानपक्षधर दल, सामाजिक संघसंस्था, नागरिक समाज लगायत सम्मिलित बैठकले पुःन नामांकन संयुक्त संघर्ष समिति गठन गरेको हो । बैठकको निर्णय सोमबार दिक्तेलमा पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरिएको छ । संघर्ष समितिको सह–संयोजकमा नेकपा एकीकृत समाजवादीका ओमीराज राई, जनता समाजवादी पार्टीका अध्यक्ष पिके खम्बू, जनजाती महासंघका अध्यक्ष फुर्वा शेर्पा, जनजाती महासंघका पुर्वसचिव रबिन खम्बू, किरात सेवा समाजका किसन राई, सैंजु नेवा देय दबुका धनकुमारी सैंजू चयन भएका छन् । नेपाल तामाङ घेदुङ संघका पर्शुराम राई, नेपाल शेर्पा संघका कसाङ शेर्पा, किरात राई चाम्लिङ खाम्बातिमका गणेश राई, साम्पाङ राई जुम्लेखाका अध्यक्ष प्रताप राई, वाम्बुले राई समाजका भुवन राई, किरात राई वान्तवा खिमका राजकुमार राई लगायतलाई संघर्ष समितिको सह–संयोजकमा राखिएको छ । जनजाती महासंघको उपाध्यक्ष एलबी मगर संघर्ष समितिको सचिव चयन भएका छन् । बैठकबाट ६ वटा उपसमिति गठन गरिएको संघर्ष समितिका संयोजक किरातले पत्रकार सम्मेलनमा जानकारी दिए । डा. केके राईको संयोजकत्वमा पाँच सदस्यीय बौद्धिक सल्लाहकार, सुर्य राईको संयोजकत्वमा पाँच सदस्यीय आर्थिक, डा. केके राईको संयोजकत्वमा आकस्मिक औषधि उपचार उपसमिति गठन गरिएको हो । निर्मल राईको संयोजकत्वमा १०१ सदस्यीय युवा परिचालन, संगीता राईको संयोजकत्वमा २१ सदस्यीय महिला परिचालन र इन्द्र नाराथुंगेको संयोजकत्वमा पाँच सदस्यीय सुचना तथा सञ्चाल उपसमिति गठन गरिएको संयोजक किरातले जानकारी दिए । ‘पार्टीको पनि बिश्वास देखिएन । हाम्रोलागि पार्टीभन्दा पहिचान र अस्तित्व ठूलो हो । हामी जिल्लाको सबै पालिका कव्जा गर्न सक्छौँ,’ संयोजक किरातले भने, ‘पहिचानको आन्दोलनमा लाग्दा पार्टीले कारबाही गर्छ भने गरोस् । कारबाही भोग्न तयार छौँ । पहिचानको मुद्धा छोडिन्न ।’ जिल्लाका १० वटै पालिकामा आन्दोलनलाई शसक्त बनाउनका लागि जिम्मेवारी बाँडफाँड गरिएको छ । जनता समाजवादीले पनि बनायो १०१ सदस्यीय संघर्ष समिति पुनः नामांकन संयुक्त संघर्ष समिति गठनप्रति ऐक्यवद्धता जनाउँदै जनता समाजवादी पार्टी खोटाङले अध्यक्ष पिके खम्बुको संयोजकत्वमा १०१ सदस्यीय संघर्ष समिति गठन गरेको छ । जिल्ला समन्वय समिति, पालिका कमिटि अध्यक्ष एबं भातृ संगठनका प्रमुख लगायत १०१ सदस्यीय संघर्ष समिति गठन गरेको जानकारी दिइएको छ । पहिचानको आन्दोलनलाई क्रमशः सबै प्रदेशमा जगाउने योजनासहित संघर्ष सुरु गरिएको जनपाका प्रदेश सदस्य नविन राईले बताए । लेटर प्याड र छापमा कोशी नलेख्न नगरपालिकालाई ध्यानाकर्षण पुनः नामांकन संयुक्त संघर्ष समितिले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई बोर्ड, लेटर प्याड र छापमा कोशी नलेख्न ध्यानाकर्षण गराएको छ । पत्रकार सम्मेलन लगत्तै नगरपालिका पुगेर उपमेयर बिसन राई र प्रमुख प्रशासकीय अधिकृत शुभाकर पौडेललाई ज्ञापन–पत्र बुझाउँदै लेटर प्याड र छापमा कोशी लेखिएको भए मेटाउन ध्यानाकर्षण गराएका हुन् । ज्ञापन–पत्र बुझाउँदै संघर्ष समितिका संयोजक किरातले नगरका वडा–वडामा कोशी नलेख्नका लागि आग्रह गरेका छन् ।
उपत्यकाका ट्राफिक बत्तीको मर्मत सुरु काठमाडौँ। काठमाडौँ उपत्यकामा ट्राफिक बत्तीको मर्मत सुरु गरिएको छ। सडक विभाग, सडक सुरक्षा तथा ट्राफिक शाखाले उपत्यकाका १९ चोकमा ‘अपरेसन एण्ड मेन्टेनेन्स’ कार्यक्रम अन्तर्गत मर्मत अघि बढाएको हो। उपत्यकाका विभिन्न स्थानमा विभिन्न समयमा जडान भएको ट्राफिकबत्ती मर्मत भइरहेको शाखाकी इञ्जिनियर आश्मा न्यौपानेले बताइन्। उनका अनुसार अहिले बानेश्वर, तीनकुने, सिंहदरबारलगायत भक्तपुरका विभिन्न चोकमा मर्मत भइरहेको छ। “ट्राफिक बत्तीको सञ्चालन र नियन्त्रण ट्राफिक प्रहरीले गर्ने हुँदा उहाँहरुसँग समन्यमा मर्मत भइरहेको छ”, उनले भनिन्। काठमाडौँ उपत्यकामा चालु आर्थिक वर्षमा थप स्थानमा बत्ती जडानको योजना नरहेको र पहिले जडान भइसकेको बत्तीलाई नै मर्मत गरेर सञ्चालन गर्ने लक्ष्य रहेको इञ्जिनियर न्यौपानेले जानकारी दिइन्। शाखाले चालु आवमा सातदोबाटो, महालक्ष्मीस्थान, चापागाउँ दोबाटो, धोबीघाट, बल्खु र कलङ्कीमा ट्राफिक बत्ती जडान गरिसकेको छ। चीन सरकारको सहयोगमा विस्तार भएको चक्रपथको यो खण्डमा बत्ती जडान गरिएको हो। सडक विभागबाहेक अरू निकायलेसमेत जडान गरेका गरी ५६ चोकमा ट्राफिक बत्ती जडान भएका छन्। उपत्यकाका नगरपालिका र वडा कार्यालयले पनि आवश्यकताका आधारमा बत्ती जडान गरिरहेका छन्। विभागले हालसम्म उपत्यका बाहिर भने थोरै ठाउँमा मात्रै बत्ती जडान गरेको छ।
म्याग्दीमा चैतमै निख्रियो लालीगुराँस गलेश्वर। समुद्री सतहदेखि दुई हजार छ सय १४ मिटरको उचाइमा छ म्याग्दी र बागलुङको सीमानामा पर्ने पर्यटकीयस्थल बेलढुङ्गा। चारैतिर घना जङ्गलको बीचमा रहेको विशाल चट्टान बेलढुङ्गामा उक्लिएर नजर लगाउँदा राताम्यै फुलेका लालीगुराँस देखिनुपर्ने हो यतिबेला। यो वर्ष चैतको अन्तिम साताको आइतबार बेलढुङ्गा पुग्दा राताम्यै लालीगुराँस होइन ओइलिएर झर्न लागेका फूल र हरिया पातमात्र देखे त्यहाँ पुगेका आन्तरिक पर्यटकले। लालीगुराँस फुल्ने समय वसन्त ऋतु अर्थात् चैत–वैशाख हो लालीगुराँस फुलेर राताम्यै देखिनुपर्ने यहाँका वन जङ्लमा यतिबेला लालीगुराँस कमै मात्र देख्न पाइन्छ। चैत वैशाखमा फुल्ने लालीगुराँस पुस अन्तिम सातादेखि नै फुलेपछि फुल्नुपर्ने समयमा ओइलिएर झरेका छन्। त्यस्तै काफल, ऐँसेलु, तिजु, वनमान्द्रोलगायत जङ्गली फलफूल र कन्दमूल पनि बेमौसममै फलेकाले फल लाग्नुपर्ने समयमा निख्रिसकेका छन्। फागुनको मध्यदेखि कोपिला लाग्न सुरु हुने लालीगुराँस पुसमा नै फुल्नु र फुल्नुपर्ने समयमा निख्रनु वातावरणीय दृष्टिकोणले राम्रो सङ्केत नभएको म्याग्दीस्थित धौलागिरि पर्यटन परिषद्का अध्यक्ष अमर बानियाँले बताए। विश्वमा बढ्दै गएको तापमान अर्थात् जलवायु परिवर्तनको प्रत्यक्ष असरका कारण यस्तो भएको उनको भनाइ थियो । आइतबार लालीगुराँस र हिमालको दृश्यावलोकनका लागि बेलढुङ्गामा पुग्नुभएका अध्यक्ष बानियाँसहित आन्तरिक पर्यटक लालीगुराँसकै जङ्गलमा पुगेर पनि गुराँस फुलेको देख्न नपाउँदा खिन्न हुँदै फर्केका थिए। सधैँजसो फागुन महिनाको तेस्रो सातातिरै फूल्ने लालीगुराँस यसवर्ष पुस दोस्रो सातादेखि नै फुलेकाले चैतमै निख्रिसकेको स्थानीयवासीले बताए। विगतमा लालीगुराँस फुलेपछि चैत–वैशाखमा वनजङ्गल रङ्गीविरङ्गी हुने र त्यसले सबैको मन लोभ्याउने गर्दथ्यो। लालीगुराँस चैत–वैशाख महिनामा फूल्ने गर्दथ्यो तर केहीवर्षयता बढ्दै गएको गर्मीसँगै लालीगुराँस चाँडै फुल्न थालेकाले फुल्नुपर्ने समयमा निख्रन पुगेको स्थानीयवासी डिलबहादुर सापकोटाले बताए। लालीगुराँस मात्रै नभएर अन्य फूलसमेत बेमौसममा फुल्न थालेको, जङ्गली फलफूल, कन्दमूल र अन्नबालीमा समेत यसको असर देखिएको भकिम्ली निवासी क्या.जसबहादुर पुनको भनाइ थियो। “यस वर्ष पुस अन्तिम सातादेखि नै गुराँस फुल्न र काफल पाक्न सुरु ग¥यो” वन तथा वातावरणका अध्येता बैकुण्ठ रेग्मीले भने,“चैत–वैशाखमा फुल्नुपर्ने गुराँस पुस माघमै फुल्नु र चैत सकिनै लाग्दासमेत उच्च हिमाली र लेकाली क्षेत्रहरुमा हिउँ नपर्नु, कन्दमूल तथा जङ्गली फलफूल नासिँदै जानु, बाली पाक्ने समयमा परिवर्तन देखिनु स्वभाविक प्राकृतिक गुण नभएर वातावरणीय असर हो। विश्वमा बढ्दो तापक्रम वृद्धि र जलवायु परिवर्तनका कारण कतिपय देखिने र धेरै नदेखिने परिवर्तन भइरहेका छन्।” उनका अनुसार जलवायु परिवर्तनका कारण हिमाल, वनस्पति, मानव स्वास्थ्य र महिलाको प्रजनन प्रक्रियामासमेत धेरै परिवर्तन देखिएका छन्। त्यसैगरी गर्मी ठाउँमा मात्र पाइने लामखुट्टे हाल उच्च पहाडी र हिमाली भू–भागमा पनि पाइन थालेका छन्। समयको अन्तरालमा पृथ्वीको वायुमण्डल, हावाको गति र मौसममा भएको परिवर्तनका कारण पृथ्वी तथा यसको कुनै भागको औसत मौसममा आएको परिवर्तनलाई नै जलवायु परिवर्तन भनिन्छ। जलवायु परिवर्तनका कारण मौसममा फेरबदल हुने, वर्षाको समयमा नियमित वर्षा नहुने, मौसमी फलफूल तथा तरकारी उत्पादनमा फेरबदल हुने, हिउ पग्लने, अतिवृष्टि, अनावृष्टि, हुरीबतास हुनेजस्ता असर देखापरेका मिलन म्याग्दी नामक गैरसरकारी संस्थाका पूर्वअध्यक्ष शिव वानियाँले बताए। उनका अनुसार जलवायु परिवर्तनकै कारण महत्वपूर्ण जडीबुटी तथा वनस्पति लोप भइसकेका छन्। यसरी कहिले अत्यधिक वर्षा भई धनजनको विनाश हुने त कहिले पानी नै नपरी खेतीबाली तथा वन जङ्गल नै सुक्ने अवस्था आइरहेको छ। जलवायु परिवर्तनकै कारण नयाँ–नयाँ रोग देखिएका छन्। यसको असर बढ्दै जाँदा नेपालको हिमाली क्षेत्रमा पाइने महत्वपूर्ण जडीबुटी यार्सागुम्बालगायत वनस्पति पनि लोप हुने खतरा बढेको वन डिभिजन कार्यालयका नि.प्रमुख चन्द्रमणि सापकोटाले बताए। हाल पृथ्वीको वायुमण्डलमा कार्बनडाइअक्साइड, नाइट्रोजन, मिथेनजस्ता ग्यासको मात्रा दिनप्रतिदिन बढ्दै गइरहेकाले वायुमण्डलमा असन्तुलन भई हरितगृहमा ग्यास बढेर जलवायु परिवर्तन हुनेगर्छ। जलवायु परिवर्तनका कारण मानव स्वास्थ्यमासमेत असर देखिन थालेको जिल्ल स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले बताए।
आठ वर्षमा रामपुर अस्पताल निर्माण पाल्पा। पाल्पा जिल्लामै सरकारी तवरमा सबैभन्दा ठूलो अस्पताल रामपुरमा निर्माण भएको छ। निर्माण कार्य सुरु भएको करिव आठ वर्षमा ५० शय्याको रामपुर अस्पताल भवन निर्माण भएपछि स्थानीयलाई सहज हुने भएको छ। नयाँ भवनको संरचना तयार भएपछि विशेषज्ञसहितको सेवा पाउने आशामा स्थानीय छन्। यस अस्पताल २०७२ सालमा पचास शय्यामा स्तरोन्नति भए तापनि पन्ध्र शय्याकै पुरानो भवनबाट खुम्चिएर सेवा दिइएकोमा नयाँ भवन निर्माण भएपछि सेवा प्रवाहमा धेरै सहज हुने स्थानीयवासी तथा अस्पताल विकास समितिका पूर्वउपाध्यक्ष फणेश्वर गौतम बताउँछन्। “पचास शय्यामा स्तरोन्नति भए तापनि भवन तयार नभएकाले विशेषज्ञ सेवा सञ्चालन हुन नसक्दा यस क्षेत्रका स्थानीय विशेषज्ञ सेवा लिन बुटवल, पोखरा, काठमाडाैं, चितवन जानुपर्ने बाध्यता बन्यो”, उनले भने, “भवनको संरचना तयार भएको हुदा सो सेवा रामपुरबाटै पाएपछि स्थानीयलाई अन्यत्र जानुपर्ने समस्या हट्नेछ।” एक हजार सात सय वर्गमिटरमा फैलिएर तयार भएको अस्पतालको भवनसहितको संरचना भ्याटबाहेक रविना कन्ट्रक्सन प्रालि काठमाडौंले २०७२ कात्तिक १७ गते सम्झौता गरी रु २० करोड दुई लाखको लागतमा भवन निर्माण गरेको हो। आर्थिक वर्ष २०७२/७३ को पुसदेखि निर्माण कार्य सुरु गरिएको सो भवन कोभिड-१९ को असरले गर्दा धेरै समय लम्बिन पुग्यो। अस्पतालका निमिक्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर विजय परियारले पचास शय्यामा स्तरवृद्धि भए पनि भवन निर्माण नहुँदा प्राथमिक सेवा केन्द्रको संरचनामा सेवा प्रदान गर्दै आएकोमा नयाँ भवनबाट बहुविशेषज्ञ सेवा दिने लक्ष्यसहित अघि बढेको बताउँदै हिजोको दिनमा भन्दा फरक ढंगले सेवा प्रवाह गर्ने जानकारी दिए। पाल्पाको पूर्वी भेग, स्याङ्जा, तनहुँ र नवलपुर (नवलपरासी सुस्ता पूर्व) को केन्द्र भागमा रहेको यस अस्पताल कालीगण्डकी करिडोर सडकसँगै जोडिएको छ। सडक सञ्जाल विस्तार र जनघनत्व बढ्दै जाँदा यस अस्पतालमा बिरामीको चाप उत्तिकै बढ्दो छ। हिजोका दिनमा सामान्य उपचारका लागि पाल्पाको तानसेन, स्याङ्जाको वालिङ, बुटवल जाने स्थानीय सडक सुविधा जोडिएपछि रामपुर अस्पतालमै जाने क्रम बाक्लिँदो छ। यहाँ दैनिक तीन सय बढी बिरामीले सेवा लिइरहेका छन्। सडक सुविधाले गर्दा रामपुर चार जिल्लाको केन्द्रमा जोडिएसँगै अन्यत्र जाने नागरिक हिजोआज रामपुर अस्पतालमै उपचारमा आउने क्रम बढेकाले सेवाको दायरा फराकिलो बनाउँदै कर्मचारी व्यवस्थापन गरी विशेषज्ञ सेवा दिने तयारीमा रहेको अस्पताल विकास समिति अध्यक्ष रामप्रसाद ढकाल बताउँछन्। “भवन अभावमा विशेषज्ञ सेवा सुरु गर्न सकिएको थिएन, अब संरचना तयार भएको छ, विशेषज्ञ सेवा सञ्चालन गरेर प्रभावकारी सेवा दिने तयारीमा छौं”, उनले भने। पाल्पा सदरमुकाम तानसेन देखि करिब ६५ किलोमिटर पूर्वमा रहेको यस अस्पतालमा हाल प्रसूति, एपेण्डिसाइटिस, हर्निया, हाइड्रोसिललगायतको शल्यक्रियामार्फत उपचार हुन थालेपछि स्थानीयलाई ठूलो राहत पुगेको छ। सो समस्याको उपचारका लागि यसअघि सदरमुकाम तानसेन, बुटवल, पोखरा, काठमाडौं जानुपर्ने बाध्यता थियो। रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले पूर्वाधार निर्माण अब स्तरीय सेवा कसरी दिने भन्नेतर्फ केन्द्रित हुनुपर्ने बताउनुहुँदै यस अस्पताल रामपुरमा मात्रै नभई गण्डकी बेँसी क्षेत्रका नागरिकको लागि प्रत्यक्ष भूमिका खेल्ने अस्पताल रहेकाले नगरपालिकाबाट अस्पतालको व्यवस्थापन र सञ्चालनका लागि पूर्ण साथ र सहयोग रहने बताउँछन्। प्रदेश सरकारको मातहतमा रहेको रामपुर अस्पताल लुम्बिनी प्रदेशको नजरमा रहेकाले अस्पताललाई ट्रमा सेन्टरको रुपमा अघि बढाउनुपर्ने, रामपुर अस्पताल पालिकास्तरमा निर्माण भएका अन्य अस्पतालको अभिभावकत्व ग्रहण गर्ने र विशेषज्ञ सेवा दिने अस्पतालको रुपमा स्थापित हुनु आवश्यक रहेको लुम्बिनी प्रदेशसभा सदस्य राजुप्रसाद श्रेष्ठले बताए। नयाँ भवनको तल्लो तलामा हाल ओपिडी सेवा प्रवाह भइरहेको छ। विशेषज्ञ सेवाका लागि अहिले विभिन्न उपकरण जडान तथा व्यवस्थापनको काम अस्पतालमा भइरहेको छ। पचास शय्याको अस्पताल भएकाले यहाँ नौ जना विशेषज्ञ डाक्टरको दरबन्दी छ। विसं २०५२ मा प्राथमिक स्वास्थ्य केन्द्रका रुपमा स्थापना भई रामपुरमा स्वास्थ्य उपचार सेवा सञ्चालनमा ल्याइएको हो। सेवाको क्षेत्रलाई विस्तार गरी २०६७ सालमा १५ शय्यामा स्तरोन्नति भई सेवा दिँदै आएको उक्त अस्पतालको २०७२ सालमा ५० शय्यामा स्तरोन्नति गरिएको हो। रासस
मध्यपहाडी लोकमार्ग : हिउँदमा धुलो, बर्खामा हिलाम्य ढाेरपाटन। राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको अक्षते-घोडाबाँधे सडकको ट्रायक खुलेको साढे दुई दशक बितिसक्यो। यतिका समयसम्म पनि यस खण्डको अधिकांश सडक कालोपत्र भएको छैन। हिउँदमा धुलो र बर्खामा हिलोका कारण स्थानीय विस्थापित हुनुपरेको छ भने यात्रु आजित बनेका छन्। करिब २६ किलोमिटर लामो यस खण्डमा पछिल्लो समय उपल्लाचौर-अक्षते क्षेत्रमा भने धमाधम काम भइरहेको छ। माथिल्लो बिहुँ खण्डमा भने काम हुन सकेको छैन। लोकमार्ग कार्यालयले बागलुङ बजारदेखि घोडाबाँधेसम्मको सडक दुई खण्डमा विभाजन गरी ठेक्का दिएको छ। दुई खण्डमा कालोपत्रका लागि २०७२/७३ मा सम्झौता भएको थियो। हालसम्म १२ किलोमिटर सडक कालोपत्र भए पनि अझै १३ किलोमिटर सडक बाँकी नै छ। बिहुँ र अक्षते खण्डको काम गर्ने असारसम्म छ। बिहुँमा सुस्त गतिमा काम हुँदा समयमै सकिने अवस्था छैन। बागलुङदेखि खहरेसम्म केही समय अघि सडक कालोपत्र गरिएको थियो भने हाल खहरेदेखि अक्षतेसम्म काम भइरहेको छ। उक्त खण्डमा चौडा गर्ने, नाली व्यवस्थापन र अलकत्रा बिछ्याउने काम भइरहेको छ। “हिउँदमा धुलो र बर्खामा हिलो घरभित्र पस्छ”, बागलुङ नगरपालिका-३ खहरेका जंगबहादुर कार्कीले भने, “सडकमा पानी हाल्दाहाल्दैमा अधिकांश समय बित्छ।” माथिल्लो खण्डमा कामलाई तीव्रता दिन स्थानीयले माग गरेका छन्। सडक कालोपत्रका लागि निर्माण कम्पनीसँग सम्झौता भएको एक दशक बित्नै लाग्यो। पटक-पटक म्याद थप गर्ने गरिएको छ। निर्माण कम्पनीको ढिलासुस्तीले काम सम्पन्न हुन नसकेको स्थानीय वीरबहादुर विकले बताए। “सडक छेउछाउ घर बनाउने क्रम बढे पनि धुलो र हिलोले सास्ती भएको छ”, उनले भने। लोकमार्गको कूल एक हजार सात सय ७६ किलोमिटर क्षेत्र मध्ये बागलुङ खण्ड एक सय ४२ किलोमिटर लामो छ। निसीखोला क्षेत्रमा दुई वर्ष अघि सडक कालोपत्र भइसकेको छ। घोडाबाँधेदेखि गलकोट हटियासम्मको सडक एक दशक अघि नै कालोपत्र गरिएको थियो। उक्त खण्डको हाल मर्मतसम्भार हुँदैछ। असार मसान्तसम्म सबै काम सम्पन्न हुने लोकमार्ग आयोजना कार्यालय, पर्वतका सूचना अधिकारी मिलन श्रेष्ठले बताउनुभयो । “काम नसकिए ठेक्का रद्द हुन्छ”, उनले भने। रासस
कृषकलाई माछाका भुरा वितरण बेनी। म्याग्दीका कृषकलाई ३३ हजार माछाका भुरा वितरण गरिएको छ। भेटेरिनरी अस्पताल, पशु सेवा विज्ञ केन्द्र, बेनी नगरपालिका र धौलागिरि गाउँपालिकाले कृषकको मागअनुसार भुरा वितरण गरेका हुन्। विज्ञ केन्द्र र बेनी नगरपालिका १३/१३ हजार तथा धौलागिरि गाउँपालिकाले सात हजार भुरा कृषकलाई वितरण गरेका छन्। जिल्लाका ४५ कृषकलाई केन्द्रका प्रमुख एवं पशु चिकित्सक जीवनप्रसाद आचार्य र बेनी नगरका पशु शाखा प्रमुख प्रदीप गौतमले भुरा वितरण गरे। मागअनुसार बेनीका ३५, अन्नपूर्णका सात र रघुगङ्गाका तीन कृषकलाई पोखरीको क्षेत्रफलको आधारमा भुरा वितरण गरिएको बेनी नगरपालिकाका पशु शाखा प्रमुख गौतमले जानकारी दिए। भुरा नवलपरासीबाट खरिद गरिएको हो। व्यावसायिक उत्पादनमा जोड दिन कृषकलाई अनुदानमा भुरा, औषधि, तालिम र प्राविधिक सहयोग उपलब्ध गराइँदै आएको छ। जिल्लामै भुरा उत्पादन गर्न हालसम्म गर्न सकिएको छैन। जिल्लामा व्यावसायिकरुपमा माछापालन गर्ने कृषक ५० भन्दा बढी रहेको बताइएको छ।
विद्युत् लाइन विस्तारमा भारतीय सुरक्षाकर्मीको अवरोध कञ्चनपुर। विद्युत् लाइन विस्तार गर्ने क्रममा बेलौरी नगरपालिका–८ मा भारतीय सुरक्षाकर्मीले अवरोध गरेका छन् । नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई लाइन विस्तार गर्नबाट भारतीय सीमा सुरक्षा बल (एसएबी)ले आज अवरोध गरेको हो । हुलाकी सडकखण्डको कालो पुलदेखि पचुँईसम्मको क्षेत्रमा विद्युत् लाइन विस्तारका लागि पुगेका प्राधिकरणका कर्मचारीलाई माथि कुरा गर्नोस् भन्दै लाइन विस्तार गर्न नदिएका हुन् । हुलाकी सडकको किनारै किनार विद्युत्को पोल गाड्ने कार्य भइरहेका बेला पुगेको एसएसबीको टोलीले कार्य रोकेको प्राधिकरण बेलौरी वितरण केन्द्रका प्रमुख कपिल जोशीले बताए । विद्युत् लाइन विस्तारका लागि जगदम्बा बेताल कन्स्ट्रक्सनले ठेक्का पाएको छ । चालु आवभित्रै कार्य सक्ने गरी ठेक्का सम्झौता गरिएको छ । विद्युत् लाइन विस्तारमा भारतीय सुरक्षाकर्मीले अवरोध गरेपछि पोल गाड्ने कार्य अलपत्र परेको छ । स्थानीय बासिन्दाले हुलाकी राजमार्ग क्षेत्रको जग्गा नेपालकै भए पनि भारतीय पक्षले पटक पटक अवरोध गरी दुःख दिने गरेको गुनासो गरेका छन् । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले विद्युत् लाइन विस्तारमा के कारणले कार्य रोकेको रहेछ, बुझ्ने प्रयासमा रहेको बताए । यसअघि हुलाकी राजमार्गको पचुँई क्षेत्रमा भारतीय पक्षले सडक कालोपत्र गर्ने कार्यमा अवरोध गर्दै आएको छ ।
आलु गाउँ हेमजामा ‘राष्ट्रिय आलु महोत्सव’ सुरु कास्की। आलु गाउँका रुपमा देशमै प्रख्यात पोखरा महानगरपालिका–२५ हेमजामा आजदेखि आलु महोत्सव सुरु भएको छ। ‘सुन्दर ठाउँ हेमजा जाआँै, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ को नारासहित आलु र तरकारी उत्पादनमा देशमै अग्रणी हेमजामा ११औँ संस्करणको सो महोत्सव गरिएको हो । हेमजाले पोखरा बजारलाई २५ देखि ३० प्रतिशत ताजा तरकारी आपूर्तिमा योगदान गरेको छ । महोत्सवको मुख्य आकर्षणमा आलुको पहाड निर्माण गरिएको छ । स्थानीय कृषकबाट सङ्कलित ३५ टन आलुबाट पहाड निर्माण गरिएको आलु सङ्कलन तथा कृषि परिचालन उपसमिति संयोजक जयराज तिमिल्सिनाले बताए । आलुको पहाडबाटै आलु निकालेर बिक्री गरिन्छ भने बिक्री गर्दा घटेको आलु थपेर अन्तिम दिनसम्म आलुको पहाड कायम राखिने आयोजकले जनाएको छ । आलुको पहाडले मेलामा सहभागी दर्शकलाई आकर्षित गरेको छ । पहाडअघि तस्बिर लिनेको भीड बढेको तिमिल्सिनाले बताउनुभयो । मेलास्थलबाटै आलु खरिद गर्नेको बाक्लो उपस्थिति छ । महोत्सवस्थलबाट प्रतिकिलो रु ३५ मा आलुको बिक्री वितरण गरिएको छ । महोत्सवमा करिब ४० टन आलु बिक्री हुने अपेक्षा गरिएको छ । महोत्सवमा कूल एक सय २० वटा स्टल रहेकोमा करिब २५ प्रतिशत कृषि स्टल छन् । महोत्सव उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका कृषि, ऊर्जा तथा जलस्रोतमन्त्री वेदबहादुर गुरुङले प्रदेश सरकार किसानको पक्षमा रहेको बताए । नेपालमा कृषिलाई व्यावसायिक बनाउनुपर्नेमा उहाँको जोड छ । “कृषि नीति सुधार्ने तयारीमा छ । आगामी बजेट किसानमुखी बनाउने गरी काम गरिरहेका छौँ ”, गुरुङले भने । प्रदेशसभा सदस्य गणेशमान गुरुङले कृषि कर्म गर्दा खुसी हुने संस्कारको सुरुआत गर्नुपर्ने बताए । कृषि पेशालाई प्रविधिमैत्री बनाउन उनले आग्रह गरे । कृषि मन्त्रालयका सचिव डा सहदेवप्रसाद हुमागाईंले हेमजा र आलु पर्याय जस्तै भएको बताउँदै महोत्सवले बजारीकरणमा सहयोग पुगेको बताए । विज्ञ श्यामप्रसाद ढकालले हेमजावासीलाई नियमित खाने र उद्योगसँग जोड्ने गरी आलुको उत्पादनमा लाग्न सुझाव दिए । महोत्सवमा आलु तथा ताजा तरकारीको बृहत प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार प्रदर्शन तथा प्रशिक्षण, माटो, बोटविरुवाको परीक्षण तथा रोगको निदान गरिनेछ । यसैगरी कृषिसम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, विभिन्न कृषि उपज, बीउविजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी, कृषक सम्मान तथा पुरस्कारलगायत कार्यक्रम हुने आयोजक संस्थाका अध्यक्ष सुविन श्रेष्ठले बताए । महोत्सवसँगै हेमजामा उत्पादन भएको आलु तथा अन्य ताजा तरकारीको प्रचारप्रसार हुने, हेमजालाई व्यावसायिक कृषि पर्यटकीय क्षेत्रका रुपमा देश विदेशमा चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत विभिन्न समूहमा व्यावसायिक कृषि खेती सञ्चालन गर्न सहयोग तथा अभिप्रेरणा मिल्ने, क्लब भवन, तरकारी सङ्कलन तथा बिक्री वितरण केन्द्र निर्माण गर्नेलगायत उद्देश्य पनि राखिएको छ । कोरोना भाइसरका कारण विगत तीन वर्षसम्म हुन नसकेको महोत्सवलाई यस वर्षदेखि क्लबले निरन्तरता दिएको हो । महोत्सव आगामी वैशाख ३ गतेसम्म सञ्चालन हुनेछ ।
सुनथराली विमानस्थलमा परीक्षण उडान हुने मान्म। कालीकोटको नरहरिनाथ गाउँपालिका–१ कोटवाडामा रहेको सुनथराली विमानस्थलमा बैशाखको पहिलो साता परीक्षण उडान हुने भएको छ । विसं २०४२ मा सुरु भएको विमानस्थल निर्माण कार्य पूरा भएपछि वैशाखको पहिलो साताबाट परीक्षण उडान हुने भएको हो । विमानस्थल निर्माणको काम पूरा भएको र वैशाख पहिलो हप्तामा नै परीक्षण उडान हुने सुनथराली विमानस्थल आयोजनाका सुपरभाइजर गणेशकुमार विष्टले बताए। “नेपाल नागरिक उड्डयन प्राधिकरणले दिएको जानकारीअनुसार परीक्षण उडान गर्ने जानकारी आएको छ”, उनले भने, “हामीले त्यहीअनुसार यहाँको तयारी गरेका छौँ ।” परीक्षण उडान हुने भएकाले विमानस्थलको पूर्व अधेरी खोला, पश्चिममा नुवादेव देवताको मन्दिर, उत्तरमा भेरी सामुदायिक वन र दक्षिणमा लामीडाडा लामपाटा क्षेत्रको भूभागमा पशुचौपाया छाडा नछोडन् र मानिसको आवातजावत बन्द गरिएको सुपरभाइजर विष्टले बताए । हाल यो विमानस्थलमा धावनमार्गको सुधार, रिपिटर टावर, घेराबार र भवनसमेत तयार भइसकेको विमानस्थल आयोजना कार्यालयले जनाएको छ । विमानस्थलमा नियमित उडान भएमा पर्यटकीयस्थलका रूपमा रहेको रामारोशन, बाजुरा र कालिकोटको सिमानामा रहेको त्रिवेणी पाटन, बडिमालिकाको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने गाउँपालिका अध्यक्ष नगेन्द्र विष्टले बताए। “विमानस्थल नियमित उडान गर्नका लागि र छिटो निर्माण कार्य सम्पन्न गर्नका लागि गाउँपालिकाका तर्फबाट दबाब दिँदै आएका छौँ । विमानस्थल समयमा बनेन”, उनले भने, “परीक्षण उडान हुने भएपछि त्यसपछि नियमित उडान गर्ने जानकारी पनि पाएको छु ।”
चिसापानी पर्यटकका लागि नेपालकै आकर्षक गन्तव्यः बाबुराम भट्टराई भजनी। नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले पर्यटकका लागि कर्णाली चिसापानी नेपालकै एक आकर्षक गन्तव्य भएको बताएका छन्। आज कर्णाली नदीमा र्‍याफ्टिङ गर्ने क्रममा पत्रकारलाई प्रतिक्रिया दिँदै पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष भट्टराईले कर्णाली चिसापानी पर्यटकहरुका लागि आकर्षणको गन्तव्यका रुपमा रहेको बताए। “सुदूरपश्चिमका लागि हिँडेका जुनसुकै व्यक्ति चिसापानी पुग्छ। चिसापानी पुल, कर्णालीनदीको र्‍याफ्टिङ, रानीजमरा कुलरिया सिँचाइ आयोजनाको मूल नहर निकै रमणीय छन्”, उनले भने, “पर्यटकका लागि चिसापानी एक प्याकेज नै हो। पहाडबाट तराई झर्दा र तराईबाट पहाड चढ्दा पनि कर्णालीको जम्काभेटले थप महत्व दर्साउँछ। जसबाट राम्रो आयआर्जन गर्न सकिने सम्भावनाहरु पनि छन्।” उनले कर्णाली चिसापानीलाई राज्यले पर्यटन क्षेत्रको विकास हुने गरी लगानी गर्नुपर्नेमा जोड दिए। कर्णाली नदीमा ¥याफ्टिङपश्चात् राष्ट्रिय गौरवको आयोजना रानीजमरा कुलरिया सिँचाइ आयोजनाको अवलोकन तथा अनुगमन कार्यक्रममा उनले आयोजना निर्माणपश्चात् कैलालीको पूर्वी क्षेत्रको विकासमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरे। “सिँचाइ आयोजना पूरा भएपछि यस क्षेत्रका हजारौँ किसानले सहज सिँचाइ सुविधा पाउनाका साथै रोजगारीका अवसरलाई स्थापित गर्नेछ।” पूर्वप्रधानमन्त्री भट्टराईले भने, “कृषि मात्रै नभई विद्युत् पनि उत्पादन हुने भएको हुँदा त्यसले टीकापुरलगायत आसपासका क्षेत्रका नागरिकको आर्थिक उपार्जनमा टेवा पुग्नाका साथै अन्य सम्भावनालाई पनि स्थापित गर्नेछ।” उनले आयोजनाको कामलाई तदारुकताका साथ तोकिएकै समयामा सम्पन्न गर्नेगरी काम गर्न आयोजना कार्यालयलाई निर्देशनसमेत दिए। पूर्वप्रधानमन्त्री भट्टराईले आयोजनाको काम समयावधिमा सम्पन्न हुने स्थिति नरहेको भन्ने जानकारी आएको बताउँदै निर्माण कम्पनीलाई कडाइका साथ काममा लगाउन निर्देशन दिए।। “यो आयोजना सिँचाइका लागि मात्रै नभई बाढी र डुबान कम गर्नका लागि पनि महत्वपूर्ण छ। आयोजनाको काम प्रभावकारी रुपमा सम्पन्न भएको अवस्थामा स्थानीयवासीको अन्नबाली मात्रै नभई वर्षौँको त्रास पनि समाप्त हुनेछ”, उनले भने, “रानीजमरा कुलरिया सिँचाइ आयोजना मात्रै नभई देशभरका सबै राष्ट्रिय गौरवको आयोजनाको काम सन्तुष्ट हुनेगरी हुन सकेको छैन। त्यसमा निर्माण कम्पनी र आयोजना कार्यालय बढी जिम्मेवार हुनुपर्छ।”
रुविभ्यालीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्छः केपी ओली मलेखु। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले रुविभ्यालीजस्ता पर्यटकीय क्षेत्रहरुको विकास र प्रवद्र्धनमा ध्यान दिन सके आर्थिक अवस्था सबल हुने विश्वास व्यक्त गरेका छन्। एमालेको मिसन ग्रासरुट कार्यक्रमअन्तर्गत धादिङको उत्तरी क्षेत्रमा पर्ने पर्यटकीयस्थल रुविभ्यालीमा आज आयोजित जनसभा तथा सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले ५० वर्ष अगाडि जेलमा रहँदा नै रुविभ्यालीका बारेमा आफूले सुनेको स्मरण गरे। आफूले पहिलो पटक भ्यालीमा पाइला टेकेको भए पनि यहाँ पाइने पत्थरहरुको विशेषताबारे व्याख्या गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले यहाँ पाइने रुवि पत्थर, सिलाजित लगायतका बहुमूल्य पत्थरहरु सङ्कलन गरेर सुरक्षित राखिरहेको बताए। यस्ता बहुमूल्य पत्थरहरु र खनिजपदार्थ पाइने ठाउँको विकास गर्न सरकारमार्फत आवश्यक बजेट व्यवस्थापनमा आफूले पहल गर्ने उनले बताए। धादिङबँेसीदेखि रुविभ्यालीसम्मको बाटोलाई डबल लेनसहित स्तरोन्नति गराउने कामलाई पहिलो प्राथमिकतामा राख्ने पनि उनले बताए। अध्यक्ष ओलीले यस भ्यालीको सबैभन्दा चर्चित पर्यटकीयस्थल पाङ्साङ् पाससम्म सडक सञ्जाल पु¥याउन सकिने र आफू त्यस क्षेत्रको विकासमा निरन्तर लागिरहने दोहोर्‍याए। नेपाललाई चीनसँग जोड्ने सीमा पनि यस भ्यालीमै पर्ने भएकाले यहाँका जनतालाई केरुङसम्म जाने, व्यवसाय सञ्चालन गर्ने पासको व्यवस्था मिलाउन पहल गर्ने बताए।
जसले ५० वर्ष अध्यापन गराए… भक्तपुर। भक्तपुरको एउटा कलेजका प्राध्यापक ५० वर्ष सेवा गरेर बिदाइ भएका छन्। उनलाई कलेजले आइतबार कार्यक्रम गरि बिदाइ दिएको छ। प्राध्यापक सुदर्शन कारञ्जित ५० वर्षको अध्यापन पश्चात नियमित अध्यापन पेसाबाट उमेरहदका कारण बिदा लिएका हुन्। मुनाफारहित सामाजिक संस्थाको रूपमा भक्तपुर जिल्ला प्रशासन कार्यालयमा विधिवत् दर्ता गरी सञ्चालन गरिएको नेपाल इन्जिनियरिङ कलेजबाट उनलाई बिदाइ गरिएको हो। बिदाइ कार्यक्रममा प्राध्यापक सुदर्शन कारञ्जितलाई नियमित सेवाबाट कलेजका प्राचार्य, सहायक प्राचार्य, विभागीय तथा शाखा प्रमुखहरू तथा शिक्षक कर्मचारी प्रतिनिधिहरूले दोसल्ला तथा प्रमाण–पत्रसहित बिदाइ गरिएको थियो। प्राध्यापक कारञ्जितको अध्यापन कार्य २०३० सालमा ललितपुरको एउटा माध्यमिक स्कूलमा प्रारम्भ भएको थियो। बेलायतको द सिटी युनिभर्सिटिबाट सन् १९८७ मा स्नातकोत्तर उपाधि हासिल गरी लगभग १८ वर्ष राष्ट्रिय कम्प्युटर केन्द्र सिंहदरबारमा काम गरिसकेपछि उनी पुनः शिक्षण पेशामा फर्किएको थियो। पोखरा विश्वविद्यालयको सम्बन्धनमा नेपाल इन्जिनियरिङ कलेजमा सञ्चालित पिजिडिसिए कार्यक्रममा उनी सन् २००० जनवरी १६ मा सहप्राध्यापकको रूपमा आबद्ध भएपछि लगातार २३ वर्ष सोही कलेजमा स्नातक तथा स्नातकोत्तर तहका कम्प्युटर इन्जिनियरिङ सम्बन्धी विभिन्न विषयहरू अध्यापन गराइरहेका थिए। सन् २००२ मा उनी प्राध्यापकमा पदोन्नति भएका थिए। उक्त सेवा अवधिमा उनले विभागीय प्रमुख भई सन् २००२ मा र दुई पटक विद्यार्थीहरूको काउन्सेलरकोरूपमा काम गरेका थिए। नियमित अध्यापन बाहेक कलेजका विभिन्न समितिहरूमा योगदान गर्दै आएका प्राध्यापक कारञ्जितले दुई वर्ष अगाडि कलेजको सहायक प्राचार्य छनौटको मापदण्ड तयार पनि गरेका थिए।
प्राकृतिक जलाशयमा पानी सुक्दै, चुनौती थपिँदै गण्डकी। सयौंँ वर्षदेखि उपयोग हुँदै आएका प्राकृतिक जलाशयमा बर्सेनि पानी सुक्दै जाँदा चुनौती थपिएको छ। पछिल्ला वर्षमा खानेपानीका लागि उपयोग गरिएका प्राकृतिक जलाशय कुँवा तथा पँधेरामा पानी सुक्दै जाँदा चुनौती बढ्दै गएको हो। कास्कीको पोखरा महानगरपालिका–३३ भरतपोखरीका खुर्वादी तथा कटुजेका पँधेरोहरूमा बर्सेनि पानीको मात्रा कम हुँदै गएको यहाँका स्थानीयवासी बताउँछन्। भएका कुँवा तथा पँधेरा गाउँ भन्दा धेरै तल हुँदा पानी गाग्रीमा बोकेर ल्याउनुपर्ने बाध्यता लामो समयसम्म भोगेका यहाँका स्थानीयवासीलाई २०६७ सालपछि भने केही राहत भएको थियो। त्यसयता खुर्वादीको पँधेरोबाट लिफ्टिङ गरी गाउँमाथि हुँडिकोटमा पानी ट्याङ्की राखेर घरघरमा वितरण गर्न थालेपछि स्थानीयवासीले ठूलै राहत महसुस गरेका थिए। पावनडाँडा छबिसे सामुदायिक वनमार्फत केही सहयोग एवम् स्थानीयवासीको जनसहभागितामा यस क्षेत्रकै पहिलो लिफ्टििङ खानेपानी सञ्चालन गरिएको थियो। पछिल्ला वर्षमा पानी कम हुँदै जाँदा दैनिकी सञ्चालनमा पनि धौधौ पर्ने गरेको पावनडाँडा छविसे सामुदायिक वन उपभोक्ता समूहका कोषाध्यक्ष कमलप्रसाद पौडेलले जानकारी दिए। विगतमा भन्दा आधा नै पानी घटेको जानकारी दिँदै उनले उक्त पानीलाई एक सय ३१ घरधुरीले दैनिक रुपमा उपयोग गर्दै आएको बताए। पानी घटेसँगै स्थानीयवासीले त्यसको कारणबारे खोजी गरेको र त्यस क्रममा नजिकै केही पानीको स्रोत फेला परेपछि पाइपमार्फत मूल ट्याङ्कीमा मिसाइएको उनले जानकारी दिए। बर्सेनि पानीको समस्या बढ्दै गएका अवस्थामा कृस्ती, निर्मलपोखरी, भरतपोखरी सहलगानी खानेपानी आयोजनाको काम पनि सुस्तगतिमा हुँदा थप चिन्तित बनाएको स्थानीयवासी बताउँछन्। उक्त आयोजनाका लागि चार/पाँचवर्ष अघि नै प्रतिघर १५/१५ हजार रुपैयाँका दरले स्थानीयवासीले रकम बुझाएको भए पनि त्यसको काम सुस्तगतिमा बढेको उनीहरूको गुनासो छ।
कैलाली र कञ्चनपुरमा भयावह बन्दै रेबिज रोग धनगढी । कैलाली कञ्चनपुरमा रेबिज रोगको संक्रमण भयावह बन्न थालेको छ । पशुप‌ंछी रोग अन्वेषण प्रयोगशाला प्रदेश कार्यालय धनगढीका अनुसार पछिल्लो एक डेढ महिना यता पशुपञ्छिमा रेबिज तिब्र रुपमा देखिन थालेको हो भने रेबिजका कारण मर्ने पशु चौपायको संख्या समेत बढ्न थालेको छ । ‘कैलालीको गौरिगंगा र धनगढीमा रेबिज संक्रमण भएका पशु चौपाया भेटिएका छन्,’ पशुप‌ंछी रोग अन्वेषण प्रयोगशाला प्रदेश कार्यालय धनगढीका प्रमुख डा.नरेश जोशीले भने, ‘कञ्चनपुरमा यसको संक्रमण उच्च रुपमा देखिएको छ, रेबिजका कारण पशु मर्नेक्रम पनि कञ्चनपुरमै उच्च रहेको छ ।’ उनका अनुसार हालसम्म कञ्चनपुरको पुनर्वास नगरपालिका–१ मा एटा भैसी, एक बाख्रा, शुक्लाफाँटा नगरपालिकामा एउटा कुकुर, भीमदत्त नगरपालिकाका विभिन्न वडामा कुकुर, बाख्रा, गाईको बच्छो, गाई, लालझाडी गाउँपालिकामा कुकुर लगायत धेरै पशुप‌ंछी रेबिज रोगका कारण मरेको पुष्टि भएको छ । ‘कार्यालयमा रेबिजका कारण पशुचौपाय मरेको थोरैमात्रै तथ्याङ्क आएको छ,’ जोशीले भने, ‘तर पछिल्लो एक डेढ महिना यता रेबिजका कारण मात्रै ५ सय भन्दा बढी पशु चौपाय मरेको हाम्रो आकलन रहेको छ ।’ यता कैलालीको धनगढी र गौरिगंगाको एउटा–एउटा बाख्रामा पनि रेबिज रोग पुष्टि भएको प्रयोगशाला प्रमुख जोशीले बताए । उनले पशु चौपायमा रोगको संक्रमण देखिएपछि त्यसको कुनै औषधि नभएको समेत बताए । ‘रोग नियन्त्रण गर्ने एउटै उपाय रोग लाग्न पुर्वनै पशुचौपायमा रेबिजविरुद्धको खोप लगाउनु हो,’ प्रयोगशाला प्रमुख जोशीले भने, ‘रोग लागिसकेपछि त्यसलाई निको पार्ने कुनै औषधि अहिलेसम्म पत्तालागेको छैन, रोग लागेको चौपाया मरिहाल्छ ।’ उनले रेबिजको संक्रमण बढ्नथालेपछि पछिल्लो समय २४औं घण्टा प्रयोशालामा रोगकको परिक्षण हुने गरेको बताए । ‘श्रोतसाधन न्युन हुँदा पनि कर्मचारी जिम्मेवारीपुर्ण तरिकाले काम गरिरहनुभएको छ,’ उनले भने, ‘अहिले २४औं घण्टा प्रयोगशालामा हामी काम गरिरहेका छौं, अत्यावश्यक सेवाका लागि पशु एम्बुलेन्स पनि तयारी अवस्थामा राखिएको छ । रोग लाग्न नदिन के गर्ने ? पशुप‌ंछीमा रेबिज रोग लाग्न नदिन खोप लागाउनु एक मात्र विकल्प भएको पशुप‌ंछी अन्वेषण प्रयोगशाला प्रदेश कार्यालय धनगढीका प्रमुख डा.नरेश जोशीको भनाइ छ ।  ‘रोगलागिसेपछि यसको औषधि अहिलेसम्म पत्ता लागेको छैन,’ जोशीले भने, ‘त्यसलै सवैले आफ्ना पशु चौपायमा रेबिजविरुद्धको खोप लगाउनु अपरिहार्य छ ।’ रेबिज रोग खास गरी स्याल र संक्रमित कुकुरको टोकाईबाट सर्ने गर्दछ । त्यसैल सवैले आफ्नो घरमा पालेका कुकुरलाई रेबिजविरुद्धको खोप अनिवार्य लगाउन उनले सुझाव दिएका छन् । त्यसैगरी सडकमा रहेका सामुदायिक कुकुरमा पनि खोप लगाउनु अनिवार्य भएको डा. जोशीको भनाई छ । ‘कुकुर वा स्यालले पशु चौपायलाई टोकेको खण्डमा तत्काल ती पुशुमा खोप लगाउन उनले सुझाव दिएका छन् । कुकुर वा स्यालले टोक्दा र्‍यालमा रेबिजको किटाणु देखिएको अवस्थामा पशुपञ्छि रोग अन्वेषण प्रयोगशालाले निशुल्क खोप लगाउने कार्यक्रम रहेको उने बताए । त्यसैले पशुप‌ंछीलाई कुकुर वा स्यालले टोकेको खण्डमा तत्काल पशुप‌ंछी रोग अन्वेषण कार्यालयमा खबर गर्न उनले अनुरोध समेत गरेका छन् । अहिले गोठमै पशुमा रोग भए नभएको पत्तालगाउने प्रविधि भित्रिएको छ,’ उनले भने, ‘त्यसैले पहिला जस्तो रेबिज पत्तालगाउन प्रयोगशालामै आउनुपर्ने अवस्था छैन, त्यसैले किसानले पपशुप‌ंछीमा रेबिज जस्तो लक्षण देखिएको खण्डमा तत्काल पशुपञ्छि रोग अन्वेषण प्रयोगशाला वा स्थानीय पालिकाको पशु शाखामा जानकारी गराउन अनुरोध छ । के हो रेबिज, कसरी सर्छ ? सुरुमा जनावरको र्‍यालमा रहेका भाइरस जनावारको टोकाइबाट घाउमा पुग्छ । यो भाइरस रगत र लिम्फबाट नभई छालामुनिको भित्री तन्तु र मांसपेशी हुँदै परिधीय स्नायु, मेरुदण्ड र अन्त्यमा गिदीसम्म पुग्दछ । दिमागको गिदीमा सङ्क्रमण भएपछि मात्र विशेष लक्षणहरू देखिन्छन् । अन्त्यमा गिदीका मसिना स्नायुबाट भाइरस र्याल ग्रन्थी, छाला, आँखाको कोर्निया र अन्य अङ्गमा पुग्दछ । यस्ता सङ्क्रमित जनावारले टोक्दा र्याल ग्रन्थिमा भएको भाइरस फेरि अर्काे जनावारको शरीरमा प्रवेश गर्छ । रेबिज एक किसिमको भाइरसले लाग्ने रोग हो । रेबिज लागेको कुकुर, स्याल वा अन्य जनावरमा रेबिज भाइरस हुन्छ । कुकुर, स्याल, चमेरो, बिरालोलगायत तातो रगत हुने र स्तनधारी जनावरबाट रेबिज भाइरस सर्ने गर्छ । त्यस्ता जनावरले टोकेपछि घाउका माध्यमबाट रेबिज भाइरस शरीरमा प्रवेश गर्छ । जसले गर्दा मानिसमा रेबिज रोग लाग्छ । लक्षण रेबिज लागेमा ज्वरो आउने, झमझमाउने, टोकेको ठाउँमा अत्यधिक दुख्ने हुन्छ । त्यस्तै पानी, हावादेखि डराउने, चिटचिटाहट हुने, रिसाउने जस्ता समस्या पनि देखिन्छ । रेबिजका कारण आँखा, नाक, मुख र शरीरमा घाउ हुने गर्दछ । यसबाट अरू मानिसमा पनि सर्न सक्छ । रेबिजका बिरामीले पानी पिउँदा घाँटीमा दुख्ने गर्छ । रेबिजले स्नायु प्रणालीसँगै श्वासप्रश्वासमा पनि बाधा उत्पन्न गर्न थाल्छ । रेबिजका कारण हृदयाघात र मृत्यु पनि हुन सक्छ । त्यसैगरी पशु चौपायमा बौलाउने, झोक्राउने, ¥याल चुहाउने जस्ता लक्षण देखिएमा रेबिज रोग हुन सक्छ । त्यसतो लक्षण देखिएका मानिस वा पशुलाई छुट्टै स्थानमा राख्नुपर्ने स्वास्थ्यकर्मीको सुझाव छ । प्रदेश भर एउटै प्रयोगशाला, बजेट छैन पशुप‌ंछी रोग अन्वेषण प्रयोगशाला सुदूरपश्चिममा एउटा मात्रै रहेको छ । जसका कारण सुदूरपश्चिमका ७ वटा पहाडी जिल्ला प्रयोगशालको सेवा लग्न पाउँदैनन् । धनगढीमा रहेको प्रयोगशालाले कैलाली, कञ्चनपुरमा अहिले जसोतसो सेवा दिंदै आएको छ । कार्यालयमा हाल तीन पशु विशेषज्ञ डाक्टर प्राबिधिक कर्मचारी कार्यरत रहेका छन् । अत्यावश्यक सेवाका लागि प्रयोगशालामा पशु एम्बुलेन्सको समेत व्यवस्था गरिएको छ । तर, बजेट अभावका कारण भने काम गर्न सकस भइरहेको प्रयोगशालाका प्रमुख जोशी बताउँछन् । ‘संघिय सरकारले अहिले सबै योजना  तथा कार्यक्रमको बजेट कटौति गरेको छ,’ कार्यालय प्रमख डा. जोशीले भने, ‘जसका कारण श्रोतसाधनको समस्या हुन थालेको छ, अहिलेसम्म जसोतसो काम गरिरहेका छौं, आगामी दिनमा केहुन्छ भन्न सकिदैन ।’ अहिले पनि कतिपय अवस्थामा कर्मचारीले आफ्नो व्यक्तिगत खर्च व्यहोरेर फिल्डमा जानुपर्ने अवस्था रहेको उनले बताए ।
पूर्वपश्चिम रेलमार्गको एलाइन्मेन्ट परिवर्तन हुने बारा। पूर्वपश्चिम रेलमार्गको निजगढ नगरपालिका क्षेत्रभित्र हुने एलाइन्मेन्ट परिवर्तन हुने भएको छ। रेल विभागका पदाधिकारीहरुले निजगढमा आयोजना गरेको छलफल कार्यक्रममा यसअघि स्थानीय सरोकारवालाहरुसंग भएको सहमतिभन्दा फरक रेखाङ्कन गर्न लागिएको जानकारी गराएका हुन्। रेल विभागले गरेको पछिल्लो सर्भे अनुसार रौतहटको चोचा हुँदै निजगढ आउने भनिएको रेल्बे लाइन अब नयाँ एलाइन्मेन्टअनुसार निजगढ र सिगौंलको बीचमा पर्ने सुकेपोखरीबाट निजगढ वडा नम्बर ५ को पूर्वटोल हुँदै पश्चिमतर्फ जाने भएको छ। कार्यक्रममा रेलवे विभागका इन्जिनियर सुमन पोखरेले भारत सरकारको सहयोगमा निर्माण हुन लागेको रक्सौल– काठमाडौँ रेलको एलाइन्मेन्टसँग तालमेल गर्ने क्रममा पूर्वपश्चिम रेलमार्गको एलाइन्मेन्ट परिवर्तन गर्नुपरेको बताए। बाराको कोल्हबी हुँदै निजगढ प्रवेश गर्ने रक्सौल– काठमाडौँ रेल धन्सार नदी पार गरेर उत्तर लाग्ने र पूर्वपश्चिम रेल भने निजगढस्थित भमरा खोला पारीको जंगल हुँदै पूर्वटोल निस्किएर पुरानोटोलबाट लाल हुँदै डम्बरपुर भएर उत्तरतर्फ लाग्ने छ। दुबै रेलमार्गको स्टेशन भने सुकेपोखरी नजिक राखिने भएको छ। यसअघि पूर्वपश्चिम रेलमार्गको निजगढस्थित नदीकट्टा हुँदै बकैया खोलाको पूर्व किनारा भएर पुरानो निजगढबाट पश्चिमतर्फ लाग्ने गरी नक्साङ्कन गरिएको थियो । निजगढको क्षेत्रको नक्साङ्कनको क्रममा यसअघि उत्पन्न विवादपछि पटकपटक भएको छलफलको क्रममा बकैया खोलाको किनाराबाट रेल्बे लिक निर्माण गर्न स्थानीय सरोकारवालाहरुले सहमति जनाएका थिए। छलफलमा निजगढ नगरपालिका क्षेत्र भित्रको मानव बस्ती, खेतीयोग्य जमिन, वन जंगलमा न्यून क्षति पुग्ने गरी सर्भे कार्यअघि बढाउन सम्बन्धित निकायलाई अनुरोध गर्ने निर्णय समेत भएको छ। कार्यक्रममा मधेस प्रदेश सभा सदस्य मिना लामा, निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरी, प्रमुख प्रशासकीय अधिकृत राजमणि निरौलालगायत विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, संचारकर्मी र स्थानीय सर्वसाधारणको समेत सहभागिता रहेको थियो।
गाईभैँसीमा ‘लम्पि स्किन’ समस्या, किसान चिन्तित फिक्कल। गाईभैँसीमा ‘लम्पि स्किन’ रोग देखापरेपछि इलामका पशुपालक किसान चिन्तित बनेका छन्। जिल्लाको सूर्योदय नगरपालिकासहित अन्य पालिकामा सो रोग देखापरेको जनाइएको छ। सूर्योदय नगर प्रमुख रणबहादुर राईले ‘लम्पि स्किन’रोगका विरुद्धमा नगरपालिकाले किसानलाई सहयोग उपलब्ध गराउँदै आएको जानकारी दिँदै यसका लागि नगरपालिकामा सम्पर्क राख्न अनुरोध गरे। ‘लम्पि स्किन’ रोग लागेमा पशुलाई ज्वरो आउने, झोक्राउने, खाना नखाने, दूध घटेर जाने, खटिरा आउने र अन्त्यमा मृत्यु हुने गरेको सूर्योदयका पशु शाखा प्रमुख विपिनकुमार सिंहले जानकारी दिए। उनका अनुसार किर्ना, भुसाना, झिङ्गा, लामखुट्टे आदिको माध्यमबाट एउटा पशुबाट अर्कोमा सर्ने हुँदा फैलने क्रम धेरै छ। उनले भने, “रोगविरुद्धको खोप नहुँदा र प्रभावकारी उपचार नहुँदा थप समस्या भएको हो। हालसम्म प्राप्त जानकारीअनुसार हाम्रो नगरपालिकामा पाँच पशु मरेका छन्। सङ्क्रमण देखिएका पशुलाई अलग्गै राख्ने, सरसफाइ गर्ने, किर्ना, लामखुट्टे र भुसुना नियन्त्रणको उपाय खोज्नुपर्छ।” गत वर्ष छिमेकी जिल्ला झापामा समस्या बनेको सो रोग यस वर्ष गत असोजदेखि फाट्टफुट्ट देखा पर्न थालेको थियो। सुरुमा इलामको रोङ गाउँपालिकामा देखापरेको रोग अहिले जिल्लाका माईजोगमाई, सन्दकपुरलगायतका अन्य थुप्रै पालिकामा समेत फैलिएको छ। माईजोगमाईका पशु किसान कुमार थापाको लैनो गाईमा उक्त रोग देखापरेपछि छिमेकीका पशुमा समेत देखापरेको थियो। उनले भने, “यो हावाको माध्यमबाट सर्दोरहेछ। कोरोनाकालमा मान्छे मर्ने त्रास थियो। अहिले गाई मर्ला कि भन्ने पीर बढ्यो।” दिनको १८ लिटर दूध दिँदै गरेको गाईमा रोग आएपछि आधा उत्पादन घटेको उनको भनाइ छ। यो रोग लागेपछि पशुलाई सार्वजनिकस्थलमा चरनका लागि लैजान नहुने, अन्य वस्तुभाउको सम्पर्कमा आउन नदिने, जैविक सुरक्षामा ध्यान दिने, गोठ सरसफाइ गर्ने काम गरेपछि यसको नियन्त्रण हुनसक्ने चिकित्सक भुपाल पोख्रेलले बताएका छन्।
विभिन्न देशका राष्ट्रगान गाइरहँदा … गण्डकी। चन्द्र–सूर्य अङ्कित झन्डासहित झोला बोकेर हिजोआज फेवा किनारतिर हिँडिरहेका भेटिन्छन्, विश्व राष्ट्रगान यात्री रामजी नेपाली। फेवाताल छेउको पैदलमार्गमा उभिएर राष्ट्रगान गाउनु उनको दैनिकीजस्तै बनेको छ। पर्यटकीय याम चलिरहेकाले यतिबेला पोखरामा आगन्तुकको चहलपहल छ। गायक नेपालीले यही मौका छोपेर देशी–विदेशीसामु आफ्नो कला–प्रतिभा पस्किरहेका छन्। बाहिरी मुलुकका पर्यटकलाई लक्ष्य गरी फेवाताल किनारमा पुगेर राष्ट्रगान सुनाउने गरेको उनी बताउँछन्। सधैँझैँ शुक्रबार पनि हल्लनचोक नजिकैको पैदलमार्गमा उनी पुगे। छेवैमा राष्ट्रिय झन्डा फहराइरहेको थियो। यन्त्र र ध्वनिको प्रबन्ध मिलाएपछि नेपाली राष्ट्रगानको धुन बज्यो। उनले राष्ट्रगान गाए। नेपालको राष्ट्रगानबाट सुरु भयो, उनको प्रस्तुतिको सिलसिला। सन्ध्यापख फेवातालको चिसो सिरेटो छल्दै उनले विभिन्न देशका राष्ट्रगान गाइरहेका थिए। प्रकृतिको सौन्दर्यपान गर्दै पर्यटक ओहोर–दोहोर गरिरहेका थिए। विदेशी पनि बाक्लै देखिन्थे। देशभित्र जुन ठाउँ पुग्दा पनि उनले पहिले नेपालको राष्ट्रगान गाउन्छन्। त्यसपछि छिमेकी देश भारत, चीन हुँदै अन्य देशको। शुक्रबार पनि उनले त्यसै गरे। भारतको राष्ट्रगान गाउन सुरु गर्दा नगर्दै उनको छेवैमा दुई भारतीय पर्यटक टुप्लुक्क आइपुगे। हिँडिरहेका बेला देशको राष्ट्रगानको धुन सुनेपछि उनीहरु टक्क रोकिए। नेपालीले भारतको राष्ट्रगान गाउन थालेपछि दुवै उभिए र राष्ट्रगानको सम्मान गरे। गायक नेपालीले अनेक भाषामा सम्बन्धित देशको राष्ट्रगान गाइरहँदा मानिसहरूले चाखपूर्वक श्रवण गरे। कतिले तस्बिर लिए। कोहीले मोबाइलमा चलदृश्य कैद गरे। उनको प्रस्तुतिले नेपालीभन्दा विदेशी पर्यटकको ध्यान तानिरहेको थियो। बीचतिर उनले अमेरिकाको राष्ट्रगान गाउन खोजिरहेका थिए। यत्तिकैमा बेलायती पर्यटकको समूह नै त्यहाँ आइपुग्यो। तीमध्येका केहीले नेपालीको नजिकै गएर आफ्नो देशको राष्ट्रगान गाउन अनुरोध गरे। उनीसँगै स्वर मिलाएर उनीहरूले पनि आफ्नो देशको राष्ट्रगान गाए। अर्कै महादेशमा आफ्नो देशको राष्ट्रगान त्यो पनि विदेशी गायकले गाएको देखेर उनीहरु दङ्ग परे। नेपालबाट शान्ति, विश्वबन्धुत्व, सांस्कृतिक पर्यटन र सद्भावनाको सन्देश दिन नेपाली विश्व राष्ट्रगान यात्रामा निस्केका हुन्। कोभिड–१९ महामारीयता बाहिरी देशको यात्रा प्रभावित बनेपछि उनी अहिले नेपालकै विभिन्न ठाउँ घुमिरहेका छन्। “पर्यटनको राजधानी सहर भएकाले पछिल्लो समय पोखरालाई आधार बनाएर सङ्गीत साधना र विश्वयात्राको अभियानलाई अगाडि बढाइरहेको छु”, उनले भने, “अहिले पर्यटकीययाम भएकाले राष्ट्रगान प्रस्तुतिका लागि दैनिकजसो बेलुकापख लेकसाइड पुगिरहेको हुन्छु।” नेपाललाई विश्व बजारसँग जोड्ने र पर्यटन प्रवद्र्धन गर्ने ध्येय लिएर आफू हिँडिरहेको नेपालीले सुनाए। सबै देशका राष्ट्रगान गाउँदै विश्वयात्रा गर्ने लक्ष्य कठिन भए पनि विचलित नभई साधना र कर्ममा तल्लिन रहेको उनको भनाइ छ। उनले अहिले एक सय ५० देशका राष्ट्रगान गाएका छन्। विश्वयात्राका क्रममा उनले हालसम्म ११ देशको भ्रमण गरिसकेका छन्। नेपाली तीन महिनाअघि मात्र संयुक्त अरब इमिरेट्स (युएई) पुगेर आएका थिए। कोभिड–१९ यता उनको पहिलो विदेशयात्रा थियो त्यो। उनले विश्वयात्राका लागि सहयोगको पनि याचना गर्दै आएका छन्। इष्टमित्र र शुभेच्छुकको सहयोगबाट केही देश पुग्न उनी सफल भएका छन्। उनको पहिलो विदेशयात्रा सन् २०१७ मा बेल्जियमबाट सुरु भएको थियो। बेल्जियमसँगै फ्रान्स, स्पेन र नेदरल्यान्डका विभिन्न सहर र सार्वजनिकस्थलमा समेत राष्ट्रगान गाएको उनले स्मरण गरे। “आइफिल टावरमा पुगेर फ्रान्सको राष्ट्रगान गाएँ, प्रवासी नेपालीहरूसँगको समन्वयमा म युरोप पुगेको थिएँ”, नेपालीले विगत सम्झए। तीन वर्षअघि भारत पुग्दा उहाँले चेन्नइदेखि हिमाञ्चल प्रदेशसम्मको यात्रा गरेका थिए। नेपालीले जुन देश पुग्दा पनि पहिले नेपालको र त्यसपछि मात्र सम्बन्धित देशको राष्ट्रगान गाउने गरेका छन्। “कार्यक्रमको प्रकृतिअनुसार एकै ठाउँमा धेरै देशका राष्ट्रगान पनि गाउने गर्छु”, नेपालीले भने। सन् २०२५ भित्र एक सय ९५ देशका राष्ट्रगान गाउँदै विश्वका दुई सय ३२ वटै देश पुग्ने उनको लक्ष्य भने पछाडि धकेलिएको छ। कोभिड–१९ महामारी, आर्थिक अभाव आदि कारणले यात्रामा अवरोध आएको नेपालीले बताए। जस्तै सङ्कट आए पनि नयाँ–नयाँ देशको राष्ट्रगान सङ्कलन र गायन अभ्यासलाई भने आफूले नछाडेको उनको भनाइ छ। “मैले दायाँबायाँ केही सोचेको छैन, म यसैमा साधनारत छु, राम्रो समयको पर्खाइमा छु, आत्तिएको छैन”, नेपालीले भने। बागलुङको बागलुङ नगरपालिका–६ भिरलाङ्खुरीमा जन्मनुभएका नेपालीसँग सबैभन्दा धेरै देशका राष्ट्रगान गाउन सक्ने गायकका रूपमा विश्व कीर्तिमान राख्ने सपना छ। त्योभन्दा बढी छ, बुद्ध र सगरमाथाको देशका रूपमा नेपालको चिनारी देशदेशान्तर फैलाउने हुटहुटी। “मेरो विश्वयात्राको उद्देश्य नेपालको पर्यटन प्रवद्र्धन गर्नु पनि हो”, उनले भने, “संसारभरका मानिसलाई एकपटक नेपाल घुम्न आउनुस् भनेर सन्देश दिन चाहन्छु ।” विश्वयात्राका लागि अहिलेसम्म कतैबाट कुनै सहयोग नआएको उनले बताए। नेपालीले ‘गुगल’, ‘युट्युब’जस्ता माध्यमबाट विभिन्न देशका राष्ट्रगान र तिनका ‘ट्रयाक’ खोजेर गाउने गर्दै आएका छन्। एक सय ९५ देशका राष्ट्रगान र तिनका धुन सङ्कलन गरिसकेको उनको भनाइ छ। अनेक भाषाका राष्ट्रगान सही ढङ्गले गाउनु चुनौतीपूर्ण विषय भएको उनको अनुभव छ। “सङ्गीत, भाषा, उच्चारणदेखि धेरै पक्ष ख्याल गर्नुपर्ने हुन्छ, एउटा राष्ट्रगान गाउन सक्ने हुन लामो अभ्यास र प्रक्रिया पार गर्नुपर्छ”, नेपालीले भने। उनले सबै भाषाका गीतलाई नेपाली रोमनमा उतारी गाउने गर्छन्। ‘वर्ष दिनको मेला’ (२०५३), ‘जवानीमा तानेको’ (२०५९), ‘भिरको टुनी’लगायत गीतमा स्वर दिएका गायक नेपालीले विश्वयात्रापछि पुनः मूलधारकै सङ्गीत कर्ममा फर्कने बताए।
नेपाल फार्मेसी संघको अध्यक्षमा किरण ढकाल निर्विरोध निर्वाचित बुटवल। नेपाल फार्मेसी संघको दोस्रो राष्ट्रिय महाधिवेशनले किरण ढकालको अध्यक्षतामा ३ वर्षका लागि २३ सदस्य नयाँ कार्यसमिति चयन गरेको छ। महाधिवेशनले उपाध्यक्षमा सफिर रहमान, टेक विके र डा. मिना भट्ट, महासचिवमा युवराज भूषाल, सचिवमा अजामिन ढकाल, राम धामी र सुन्दर आचार्य, कोषाध्यक्षमा शिव प्रसाद पोख्रेल, सह-कोषाध्यक्षमा विनोद पन्त, सदस्यहरूमा नविन धामी, राजेश भट्ट, ध्रुव कुमार शर्मा, खगेन्द्र घिमिरे, कबिन मलेकु, गोविन्द खत्री, दिनेश विष्ट, ओमकार अर्याल, राम प्रसाद अर्याल, लक्ष्मी कुमारी केसी, रामचन्द्र कोइरालालाई चयन गरेकाे छ। संघका अध्यक्ष अमृत खनालको अध्यक्षता, लुम्बिनी प्रदेशका मुख्यमन्त्री मा. लिला गिरीको प्रमुख आतित्यथा, स्वास्थ्य मन्त्रालयका वरिष्ठ फ़ार्मेसी व्यवस्थापक तथा औषधी व्यवस्था विभागका पूर्व महानिर्देशक नारायण ढकालको विशिष्ट आतित्थमा, वरिष्ठ फार्मासिष्ट बाबुराम हुमागाई, वरिष्ठ फार्मासिष्ट विवेक सिंह महत, औषधि व्यवसायी संघका केन्द्रीय उपाध्यक्ष सुनिल श्रेष्ठ, लिष्ट कलेजका निर्देशक बसन्तराज खनाल, मायादेवि कलेजका निर्देशक चिरञ्जीवि जोशी, क्रिमशन अस्पतालका संचालक सुरज भट्टराई, लगायतले शुभकामना व्यक्त गरेका थिए। उपाध्यक्ष किरण ढकालको स्वागत र युवराज भुषालको संचालनमा सम्पन्न महाधिवेशनले फार्मेसी सेवा पुर्याएको योगदानको कदर गर्दै औषधि व्यवस्था विभागका पुर्व महानिर्देशक तथा वरिष्ठ फार्मासिष्ट नारायण ढकाल, वरिष्ठ फार्मासिष्ट बाबूराम हुमागाई र वरिष्ठ फार्मासिष्ट विवेक सिङ महतलाई सम्मान गरेको थियो।
भूमिहीन र सुकुम्बासीको अझै तथ्याङ्क सङ्कलन हुन सकेन बैतडी। बैतडीमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको तथ्याङ्क सङ्कलनमा ढिलाइ भएको छ। यहाँका स्थानीय तहहरूको चासो नदिँदा तथ्याङ्क सङ्कलनमा ढिलाइ भएको हो। राष्ट्रिय भूमि आयोग जिल्ला समिति बैतडीको अध्यक्ष धर्मसिंह ऐर (कपिल)ले स्थानीय तहलाई तथ्याङ्क सङ्कलन गरिदिन आग्रह गर्दा पनि चासो नदिएको बताए। उनका अनुसार दश स्थानीय तहमध्ये हालसम्म पाँच पालिकाले मात्रै तथ्याङ्क सङ्कलन गरेका छन्। तथ्याङ्क सङ्कलन गर्नेमा पञ्चेश्वर, शिवनाथ र सुर्नया गाउँपालिका तथा पाटन र पुर्चौडी नगरपालिका मात्रै छन्। उनले भने, “सबै स्थानीय तहहरूलाई पत्रचार गरेको भए पनि तथ्याङ्क सङ्कलनको काम ढिलाइ भएको छ, यसले गर्दा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापनका काममा पनि समस्या भएको छ।” जिल्लाका सबै पालिकाले तथ्याङ्क सङ्कलनका लागि आयोगसँग यसअघि नै सम्झौता गरिसकेका थिए। पञ्चेश्वरमा भूमिहीन दलित दुई सय ४५, भूमिहीन सुकुम्बासी छ, अव्यवस्थित बसोबासी तीन सय ९६, शिवनाथमा भूमिहीन दलित ४८, भूमिहीन सुकुम्बासी सात, अव्यवस्थित बसोबासी तीन सय ४६ रहेका तथ्याङ्क सङ्कलन भएको आयोग जिल्ला समितिका सदस्यसचिव विवेक चन्दले जानकारी दिए। यस्तै पाटनमा भूमिहीन दलित ५७, भूमिहीन सुकुम्बासी ६४, अव्यवस्थित बसोबासी एक सय ५१, सुर्नयामा भूमिहीन दलित सात, भूमिहीन सुकुम्बासी पाँच, अव्यवस्थित बसोबासी १९, पुर्चौडीमा भूमिहीन दलित ५५, भूमिहीन सुकुम्बासी १६, अव्यवस्थित बसोबासी ४९ रहेको तथ्याङ्क रहेको भूमि आयोग जिल्ला समितिले जनाएको छ । सङ्कलन भएको तथ्याङ्क ३५ दिने सूचनाका आधारमा आएका निवेदन रहेका हुन्। पैतीस दिने सूचनामा छुटेको भए पालिकाले अर्कोपटक भूमि आयोग काठमाडौँसँग समन्यव गरेर सङ¬्कलन गर्न सकिने सदस्य सचिव चन्दको भनाइ छ । उहाँले भन्नुभयो, “पहिलोपटकको सूचनामा छुटेको भए, पालिकाले भूमि आयोगलाई अर्कोपटक सूचना निकाल्न अनुरोध गरेर सङ्कलन गर्नुपर्छ । तर दुईपटकभित्र तथ्याङ्क सङ्कलन गरिसक्नुपर्छ ।” बाँकी रहेका पालिकाले पनि तथ्याङ्क सङ्कलनका काम जारी रहेको जनाएको छ । सिगास गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत घनश्यामसिंह बोहराले वडा नं २ र ६ बाहेक सबै वडाबाट भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको तथ्याङ्क पालिका पुगिसकेको र बाँकी रहेका वडाबाट तथ्याङ्क आउनेबित्तिकै अन्तिम रूप दिएर आयोगलाई पठाउने जनाएको छ। सदरमुकामस्थित दशरथचन्द नगरपालिकाले भने तथ्याङ्क सङ्कलनको काम अगाडि नबढेको जनाएको छ। प्रमुख प्रशासकीय अधिकृत विक्रमबहादुर चन्दले केही महिनाअघिमात्रै भूमि आयोगसँग सम्झौता गरेकाले तथ्याङ्क सङ्कलनमा ढिलाइ भएको जनाए। स्थानीय तहले सङ्कलन गरेको तथ्याङ्क ‘इन्ट्री’ गरेर केन्द्रीय कार्यालय पठाइने र त्यसपछि लालपुर्जा वितरणको प्रक्रिया अगाडि बढ्ने आयोगले जनाएको छ।
पौने तीन लाख नक्कली नोटसहित सर्लाहीमा एक युवा पक्राउ सर्लाही। सर्लाहीमा नक्कली नोटसहित एक युवा पक्राउ परेका छन्। सर्लाही प्रहरीले पौने ३ लाख रुपैयाँ नक्कली नोटसहित बलरा नगरपालिका-५ अर्नाहाका ३० वर्षीय रामप्रसाद रायलाई पक्राउ गरेको हो। बरहथवा नगरपालिका-१७ स्थित बागमती सिँचाइ नहरमा नक्कली नोट लिएर हिडिरहेको अवस्थामा रायलाई पक्राउ गरिएको सलार्ही प्रहरीका डिएसपी तथा प्रवक्ता डीएसपी कैलाश राईले जानकारी दिए। उनका अनुसार पक्राउ रायका साथवाट १ हजारका २ लाख ६८ हजार रुपैयाँ नक्कली नोट बरामद गरिएको हाे। प्रहरीले राय सवार भारतीय नम्बर प्लेटको बीआर ३० एम ३८२५ नम्बरको मोटरसाइकलसहित अर्को भारतीय नम्बर प्लेटको गरी दुईवटा मोटरसाइकल पनि बरामद गरेको छ।
भक्तपुरमा जात्रा अवधिभर खुल्लारुपमा मदिरा बिक्री वितरणमा रोक भक्तपुर। जिल्ला प्रशासन कार्यालय भक्तपुरले खुलारुपमा मदिरा बिक्री वितरण गर्न रोक लगाएको छ। भक्तपुर र मध्यपुरथिमि नगरपालिका तथा चाँगुनारायण र सूर्यविनायक नगरपालिकामा मनाइने बिस्केट जात्रालाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न गराउन मदिरा बिक्री वितरणलाई रोक लगाउने निर्णय गरेको भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी माधवप्रसाद शर्माले जानकारी दिए। यही चैत २७ देखि सुरु भई वैशाख ५ सम्म सञ्चालन हुने जात्रा अवधिभर खुलारुपमा मदिराका कारण आपराधिक घटना हुनसक्ने सम्भावनालाई ध्यानमा राख्दै मदिरा बिक्री वितरणमा रोक लगाइएको उनको भनाइ छ। प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालद्वारा प्रशासनको तर्फबाट जारी गरिएको सार्वजनिक सूचनामा भनिएको छ, “खुला वा बोतलमा मदिरा वा मदिराजन्य पदार्थको बिक्री वितरण, ओसारपसार तथा सेवन गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिनेछ।” जात्राको समयमा ढुंगामुढा गर्ने, हुलहुज्जत तथा होहल्ला गर्ने र उच्छृङ्खल गतिविधि गर्नेलाई पनि कडा कारबाही गरिने जानकारी दिँदै त्यस्ता गतिविधिमा नलाग्न उनले आह्वान गरेका छन्। जात्रामा तानिने भैरवको रथमा अधिकार प्राप्त र पोसाक लगाएका व्यक्ति वा पदाधिकारीबाहेक अन्यलाई नचढ्नसमेत उनले आग्रह गरेका छन्। त्यसैगरी मध्यपुरथिमि नगरपालिकामा विशेष गरी चैत ३० गते, वैशाख १ गते र वैशाख २ गते मनाइने सिन्दूर तथा जिब्रो छेड्नेलगायतको जात्रालाई पनि शान्ति पूर्णरुपमा सम्पन्न गर्न मध्यपुरथिमि नगरपालिका क्षेत्र भित्र मदिरा बिक्री वितरण तथा खुलारुपमा सेवन गर्न नगरपालिकाले निषेध गरेको छ। मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले शान्तिपूर्णरुपमा हर्सोल्लासका साथ अहिलेसम्म मनाइँदै आएको यहाँको जात्रालाई यस वर्ष पनि शान्तिपूर्णरुपमा सम्पन्न गर्न मदिरा बिक्री वितरण तथा खुलारुपमा सेवन गर्न रोक लगाएको जानकारी दिए। जात्रालाई भव्य र सभ्यरुपमा सम्पन्न गर्न आह्वान गर्दै मदिरा बिक्री वितरण गरेको पाइएमा कानुनबमोजिक कारबाही हुनेसमेत बताए।
जुम्लामा अन्तरजातीय विवाह गर्ने ६० जोडी सम्मानित जुम्ला । जुम्लामा अन्तरजातीय विवाह गर्ने ६० जोडीलाई सम्मान गरिएको छ । नेकपा (माओवादी केन्द्र) जुम्लाले अन्तरजातीय विवाह गर्नेलाई सम्मान गरेको हो । माओवादी निकट दलित मुक्ति मोर्चाको हालै सम्पन्न जिल्ला सम्मेलनका क्रममा ती जोडीलाई सम्मान गरिएको माओवादी केन्द्र जुम्लाका इन्चार्ज नरेश भण्डारीले बताए । माओवादी केन्द्र निकट दलित मुक्ति मोर्चाका अध्यक्ष चन्द्रबहादुर नेपालीका अनुसार विद्यमान जातीय विभेदलाई तोडेर अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गरिएको हो । अध्यक्ष नेपालीले भने, “विद्यमान अवस्थामा उहाँहरूलाई ताकत दिन हौसला प्रदान गर्न गरिएको छ ।” कार्यक्रममा दलित समुदायबाट निर्वाचित भएका जनप्रतिनिधि र कर्मचारीलाई समेत सम्मान गरिएको छ । पार्टीले समाजमा विभेद भइरहेकै समयमा प्रोत्साहन गर्ने उद्देश्यले यो काम गरिएको दलित मुक्ति मोर्चाका अध्यक्ष नेपालीले दावी गरे । जुम्ला गुठीचौर गाउँपालिका निवासी उमेश परियारले यस्तो कामले आफ्नो परिवारलाई थप हौसला प्रदान गरेको बताए । समानता समानुपातिकको मूल एजेण्डा माओवादी सूत्रधार भएका कारण माओवादीले यस्ता काममा जोड दिएको उनको भनाइ छ । सङ्घीयता, समानुपाति र समावेशीमा माओवादी केन्द्रले नै प्रथामिकता दिने भएकाले अन्तरजातीय विवाहलाई प्रोत्साहनसहित सम्मान गरिएको माओवादी केन्द्र जुम्लाका इन्चार्ज भण्डारीको भनाइ छ । कर्णाली प्रदेश सरकारका सचेतक तथा प्रदेश सांसद रणसिंह परियारले दलितले बनाएको घरमा बस्ने तर पानी नखाने प्रवृत्ति हटाउने प्रवृत्ति अब हट्दै जानुपर्ने भन्दै सम्मान कार्यक्रमका लागि जुम्ला माओवादी केन्द्रलाई धन्यवाद ज्ञापन गरे ।
सांसद राईविरुद्ध प्रदर्शन गर्ने चार युवा पक्राउ खोटाङ। कोशी प्रदेशको पक्षमा मतदान गर्ने खोटाङ प्रदेशसभा–१ बाट निर्वाचित प्रदेशसभा सदस्य पाँचकर्ण राई ‘पिके’विरुद्ध प्रदर्शन गर्ने चार युवा पक्राउ परेका छन्। कोशी प्रदेश नामकरणका पक्षमा मतदान गरेको भन्दै नेकपा (एमाले)बाट निर्वाचित प्रदेशसभा सदस्य राईविरुद्ध आज दिक्तेलमा प्रदर्शनमा उत्रिएका किराँत राई यायोक्खा खोटाङका अध्यक्ष युगसन किराँत, सहकोषाध्यक्ष डार्विन राई, यायोक्खा दिक्तेल रुपाकोट मझुवागढी नगर कमिटीका पूर्वउपाध्यक्ष सप्तमणि राई र जनता समाजवादी पार्टी (जसपा) खोटाङका सचिव सुनिल चाम्लिङ पक्राउ परेका हुन्। जिल्ला समन्वय समिति खोटाङको सातौँ जिल्लासभा सञ्चालन भइरहेकको समयमा किराँत राई यायोक्खाका अध्यक्ष किराँतले कार्यक्रम सञ्चालकसँग समय मागेर आफ्नो धारणा राखेपछि नाराबाजी गर्दै कालो झन्डा देखाइएको थियो। विरोधमा उत्रिएका समूहले प्रदेशसभा सदस्य राईलाई कालोमोसो दल्ने प्रयाससमेत गरेका थिए। यायोक्खाका अध्यक्ष किराँतबाहेक अन्य तीन जनालाई भने हत्कडी लगाएर जिल्ला प्रहरी कार्यालय लगिएको थियो। कोशी प्रदेशको नाममा मतदान गर्ने सांसद तथा मन्त्रीलाई जिल्ला प्रवेश नगर्न आह्वान गरिएको तर, त्यसविपरीत गरिएकाले विरोध गरिएको यायोक्खाका अध्यक्ष किराँतले बताएका छन्। विरोधमा उत्रिएका समूहले नेपाली कांग्रेस प्रदेश महामन्त्री एवं प्रदेशसभा सदस्य खोटाङ क्षेत्र नं २ (१)बाट निर्वाचित प्रदेश सांसद भूपेन्द्र राईविरुद्ध पनि नाराबाजी गरेका थिए। कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य एवं प्रतिनिधिसभा सांसद रामकुमार राई ‘पासाङ’प्रमुख अतिथि रहेका थिए। सम्भावित दुर्घटनालाई ध्यान दिएर प्रशासनले जिल्लासभा आसपासमा प्रहरी परिचालन गरेको थियो। पक्राउ परेका चार जनासँगै नागरिक समाजका अगुवा सूर्यबहादुर राई, जसपाका प्रदेश समिति सदस्य नवीन राई, जसपाका जिल्ला अध्यक्ष पिके खम्बू, आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद्का अध्यक्ष फुर्वा शेर्पा र जनजाति महासङ्घ निकट युवा सङ्गठनका अध्यक्ष धनीराम नछुङ जिल्ला प्रहरी कार्यालय पुगेका छन्। पक्राउ परेका चार युवा नछुटेसम्म जिल्ला प्रहरी कार्यालयबाट बाहिर ननिस्कने नागरिक समाजका अगुवा राईले बताएका छन्। यायोक्खाले चैत २० गते प्रेस विज्ञप्तिमार्फत कोशी प्रदेशको नाममा मतदान गर्ने सांसद एवं मन्त्रीलाई जिल्लामा हुने कुनै पनि कार्यक्रममा अतिथिका रूपमा नल्याउन आग्रह गरेको थियो।
भक्तपुरमा मदिरा बिक्री वितरणमा रोक भक्तपुर। जिल्ला प्रशासन कार्यालय भक्तपुरले खुलारुपमा मदिरा बिक्री वितरण गर्न रोक लगाएको छ। भक्तपुर र मध्यपुरथिमि नगरपालिका तथा चाँगुनारायण र सूर्यविनायक नगरपालिकामा मनाइने बिस्केट जात्रालाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न गराउन मदिरा बिक्री वितरणलाई रोक लगाउने निर्णय गरेको भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी माधवप्रसाद शर्माले जानकारी दिए। यही चैत २७ देखि सुरु भई वैशाख ५ सम्म सञ्चालन हुने जात्रा अवधिभर खुलारुपमा मदिराका कारण आपराधिक घटना हुनसक्ने सम्भावनालाई ध्यानमा राख्दै मदिरा बिक्री वितरणमा रोक लगाइएको उनको भनाइ छ। प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालद्वारा प्रशासनको तर्फबाट जारी गरिएको सार्वजनिक सूचनामा भनिएको छ, “खुला वा बोतलमा मदिरा वा मदिराजन्य पदार्थको बिक्री वितरण, ओसारपसार तथा सेवन गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिनेछ।” जात्राको समयमा ढुङ्गामुढा गर्ने, हुलहुज्जत तथा होहल्ला गर्ने र उच्छृङ्खल गतिविधि गर्नेलाई पनि कडा कारबाही गरिने जानकारी दिँदै त्यस्ता गतिविधिमा नलाग्न उनले आह्वान गरेका छन्। जात्रामा तानिने भैरवको रथमा अधिकार प्राप्त र पोसाक लगाएका व्यक्ति वा पदाधिकारीबाहेक अन्यलाई नचढ्नसमेत उनले आग्रह गरेका छन्। त्यसैगरी मध्यपुरथिमि नगरपालिकामा विशेष गरी चैत ३० गते, वैशाख १ गते र वैशाख २ गते मनाइने सिन्दूर तथा जिब्रो छेड्नेलगायतको जात्रालाई पनि शान्ति पूर्णरुपमा सम्पन्न गर्न मध्यपुरथिमि नगरपालिका क्षेत्र भित्र मदिरा बिक्री वितरण तथा खुलारुपमा सेवन गर्न नगरपालिकाले निषेध गरेको छ। मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले शान्तिपूर्णरुपमा हर्सोल्लासका साथ अहिलेसम्म मनाइँदै आएको यहाँको जात्रालाई यस वर्ष पनि शान्तिपूर्णरुपमा सम्पन्न गर्न मदिरा बिक्री वितरण तथा खुलारुपमा सेवन गर्न रोक लगाएको जानकारी दिए। जात्रालाई भव्य र सभ्यरुपमा सम्पन्न गर्न आह्वान गर्दै मदिरा बिक्री वितरण गरेको पाइएमा कानुनबमोजिक कारबाही हुनेसमेत बताए।
ह्याम्स अस्पतालको छतमा हेलिकप्टर दुर्घटनाबाट जोगियो काठमाडौं । धुम्बाराहीरस्थित ह्याम्स अस्पतालमा एयरडाइनेस्टीको हेलिकप्टर दुर्घटनाबाट जोगिएको छ । अस्पतालको छतमा हरेको हेलिप्याडमा अवतरणका क्रममा उक्त हेलिकप्टर दुर्घटनामा परेको भन्ने जानकारी पाएपछि सम्बन्धित अधिकारीले घटनाको अनुसन्धान गरिरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले ह्याम्स अस्पतालमा एयरडाइनेस्टीको हेलिकप्टरमा प्राविधिक समस्या आएको जानकारी पाइएको बताए । घटनाका सम्बन्धमा थप अनुसन्धान गर्न सम्बन्धित एयरलाइन्सका अधिकारी अस्पताल पुगेका छन् । महानगरीय प्रहरीवृत्त महाराजगञ्जका अनुसार उक्त हेलिकप्टर अहिले पनि अस्पतालको हेलिप्याडमा नै रहेको छ । अस्पतालको छतमा रहेको हेलिप्याडमा अवतरणका क्रममा हेलिकप्टरको पछाडिको पङ्खा खुस्किएर नजिकैको घरको छानामा खसेको बताइएको छ । हेलिकप्टरको अहिले प्राविधिकले मर्मत गरिरहेका छन् । दुुर्घटनामा कुनै पनि क्षति नभएको र थप अनुसनधान भइरहेको प्रहरीले जनाएको छ । ह्याम्स अस्पतालका एक कर्मचारीले छतमा हेलिकप्टर अवतरणका क्रममा केही प्राविधिक समस्या देखिएको जानकारी पाएको बताए । उक्त हेलिकप्टर चिकित्सकसहितको टोलीसहित बिरामी लिनका लागि चितवनको भरतपुर जान विमानस्थलबाट ह्याम्स अस्पताल उडेको विमानस्थलले जनाएको छ ।
गर्मी सुरु भएसँगै सुनकोसीमा बढ्न थाले पर्यटक सिन्धुली। सिन्धुली र रामेछापका अग्ला पहाड, वारिपारिको समथरको झुरुम्म बस्ती। छेउमा सलल बगेको सुनकोसी नदी। यहाँको शान्त र सुन्दर वातावरणमा रमाउन केही समययता आन्तरिक र बाह्य पर्यटक बढ्न थालेका छन्। सिन्धुलीको सुनकोसी गाउँपालिका-५ मुलकोटमा अवस्थित ताज रिभरसाइड रिसोर्ट प्रबन्ध निर्देशक मनोज श्रेष्ठका अनुसार गर्मी मौसम सुरु भएसँगै सुनकोसी नदीमा जलयात्रा (र्‍याफ्टिङ) गर्ने पर्यटकको भीड लाग्ने गरेको छ। दिनकै एक–दुई सय पर्यटकले जलयात्रा गरेर आनन्द लिने गरेका छन्। पर्यटन प्रवद्र्धनमा सहयोग गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको जलयात्रा सेवाले पर्यटक तान्न थप सहयोग पुगेको छ। राजधानी काठमाडौँलाई तराईका जिल्लासँग जोड्ने छोटो दूरीको बिपी राजमार्गले पर्यटकलाई आवातजावतमा सहजता थपिदिएको छ। सन् २०१८ अक्टोबर १० मा व्यवसायीले सञ्चालन गरेको जलयात्रा अहिले पर्यटकको आकर्षण बनेको छ। जाडोयाममा पनि जलयात्रा गर्ने पर्यटकको घुइँचो थियो। गर्मीयाम चैतदेखि असारसम्म भ्याइनभ्याइ हुने व्यवसायी तथा ताज रिभरसाइड रिसोर्टका प्रमुख श्रेष्ठ बताउँछन्। “जलयात्राको मुख्य सिजन गर्मीयाम हो। यस याममा विशेषगरी काठमाडौँबाट प्याकेजमा मनोरञ्जन लिन आउने गर्दछन्, सार्वजनिक बिदामा दैनिक एक हजार जना बढीले जलयात्रा गर्दै आएका छन्”, उनले भने। प्राविधिक दृष्टिकोणले सुनकोसी नदीमा जलयात्रा गर्न सुरक्षित देखिएपछि पर्यटकलाई जुनसुकै समयमा पनि जलयात्रा सेवा दिन सकिएको उनले बताए। जलयात्राका लागि २० वटा बोट (डुङ्गा) छन्। प्रतिबोट आठ जनासम्म यात्रा गर्न सकिन्छ। हाल १० वटा बोटमात्रै नियमितरूपमा सञ्चालित छन्। उनका अनुसार सुनकोसी गाउँपालिका-१ को कुशेश्वर महादेव मन्दिरबाट मूलकोटसम्म (१७ किलोमिटर) वा यात्रुको चाहनाअनुसार मुलकोट-खुर्कोटसम्म जलयात्राको नियमित रुट हो। यहाँ जलयात्रा गरेवापत प्रतिव्यक्ति रु एक हजार पाँच सय शुल्क कायम गरिएको छ। पर्यटकले एक साताको प्याकेजमा मुलकोट-चतारासम्म जलयात्रा सेवा पनि लिन सक्छन्। यो सेवावापतको शुल्क अलि बढी भएकाले विदेशीले मात्र लिने गरेको उनले बताए। रामेछाप खाडाँदेवी गाउँपालिका-३ भिरपानीका चेतबहादुर जर्गामगर बिहीबार सिन्धुलीको मूलकोटमा आएर जलयात्रामा सहभागी भए। रामेछापको नमूना माझी बस्ती, डाँडापाखा, पहाड र नदीको र्‍याफ्टिङले स्वर्गीयआनन्द प्राप्त भएको उनले बताए। जलयात्राकै लागि उनी भिरपानीबाट मूलकोट आएका हुन्। एक दिनको पूरै समय मूलकोटमा बिताउने गरी आएका उनले सुनकोसीमा जलयात्रा गरी बिताएको बताए। सुनकोसी नदीमा जलयात्रा सुरु गरिएपछि यहाँका होटल र रिसोर्ट सधैँजसो भरिन थालेका छन्। व्यापार, व्यवसायमार्फत गाउँपालिकाको विकास गर्न होटल, होमस्टे निर्माण तथा र्‍याफ्टिङ गाइडरलाई तालिम दिनेजस्ता काम पनि बेला-बेलामा भइरहेका छन्। सुनकोसी गाउँपालिकामा पर्यटक भित्र्याउन सुनकोसी नदीमा सञ्चालन गरिएको जलयात्रा सेवाले सहयोग गरेको गाउँपालिका प्रमुख दीपा बोहोरा दाहालको बुझाइ छ।
त्रिशुली नदीमा जीप खस्दा एक जना बेपत्ता काठमाडौं । धादिङको बेनीघाट रोराङ गाउँपालिका–१०, तिङग्राङखानीबाट आज बिहान महेन्द्रा पिक जीप त्रिशुली नदीमा खसेको छ । जीप अनियन्त्रित भई नदीमा खस्दा एक जना बेपत्ता भएका छन् । दुर्घटनामा चालक घाइते छन् । काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको वाग्मती प्रदेश ०१–०२५ च ७९९१ नम्बरको जीप अनियन्त्रित भइ आज त्रिशुली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए । जीपमा सवार झापा घर भएका २७ वर्षीय सुरेश चौधरी बेपत्ता छन् । उनको खोजी कार्य भइरहेको छ । घाइते भएका चालक गुल्मीको रेसुंगा नगरपालिका–१० बस्ने ३७ वर्षीय सुजन थापाको स्थानीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
गहना खोज्ने जात्रा सम्पन्न काठमाडौं । काठमाडौंको हाँडीगाउँमा गहना खोज्ने जात्रा सम्पन्न भएको छ । टुँडाल देवीको खटलाई हाँडीगाउँस्थित गहना पोखरीभित्र तीनपटक परिक्रमा गराएपछि पोखरीमा देवीको गहना खोज्ने गरिन्छ । त्यस क्रममा पोखरीबाहिर टुँडाल देवीकी बैनीको खटलाई पनि परिक्रमा गराइन्छ । उक्त अवसरमा भाटभटेनीको मूर्ति टुँडालदेवी मन्दिरमा ल्याउने चलन छ । किंवदन्तीअनुसार छोरी भाटभटेनीले आमा टुँडालदेवीलाई भेट्न जाँदा गोप्य सम्बन्ध रहेका पोडेसँग घुम्न हिँडेकी देखिछन् । यसबाट रिसाएकी छोरी भाटभटेनी राति नै फर्किएको थिइन् । त्यतिबेला नै हराएको गहना प्रत्येक वर्ष खोज्ने र जात्रा चलाउने चलन चलेको संस्कृतिविदको भनाई छ ।
काभ्रेमा कोभिड नयाँ भेरियन्टका २५ सङ्क्रमित काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा आज कोभिडको नयाँ भेरियन्ट एक्सबीबी १.१६ को थप १४ मा सङ्क्रमण देखिएको छ । बितेको एक हप्तामा नयाँ भेरियन्टको ११ सङ्क्रमित रहेका थिए । करिब तीन महिनापछि जिल्लामा पाइएको सङ्क्रमण पाँच महिलासहित २५ रहेको जनाइएको छ । जिल्ला स्वाथ्य कार्यालय धुलिखेलका अनुसार आज सङ्क्रमण पुष्टि भएकोमा बनेपा नगरपालिकाका दुई, धुलिखेलका दुई, पाँचखालका एक, पनौतीका सात तथा बेथानचोक र भुम्लु गाउँपालिकाको एक÷एक रहेका छन् । काभ्रेपलाञ्चोकमा गरिएको परीक्षणमा सङ्क्रमण पुष्टि भएका सबैमा कोभिडको नयाँ भेरियन्ट एक्सबीबी १.१६ पुष्टि भएको कार्यालयका प्रमुख डा पुरुषोत्तम सेढाइले बताए । सेढाइका अनुसार नमोबुद्ध नगरस्थित मेथिनकोट अस्पताल रुघाखोकी र ज्वरो आएर उपचारका लागि आएका बिरामीमा गरिएको परीक्षणमा नयाँ भेरियन्ट पुष्टि भएको हो । “नयाँ भेरियन्ट परीक्षण गराउन खर्चिलो भएकाले थप बिरामीलाई कोभिड नेगेटिभ र पोजेटिभ मात्रै परीक्षण गर्न थालेका छौँ”, सेढाइले भने । उनका अनुसार आज पुष्टि भएका सबैको लक्ष्यण एउटै भएकाले नयाँ भेरियन्टकै सङ्क्रमित हुन् । यसअघि सङ्क्रमण पुष्टि भएका ११ मध्ये बनेपाका पाँच, पनौतिका चार र नमोबुद्धका दुई थिए । सङ्क्रमितहरू सबै होम आइशोलेसनमै उपचाररत रहेका छन् । स्वास्थ्य कार्यालयले स्थानीय सरकार तथा स्वास्थ्य कार्यालयले ‘ट्रेसिङ, टेस्टिङ र ट्रिटमेन्ट’ लाई प्राथमिकता राखेर अभियान सुरु गरेको जनाएको छ । यसैबीच कोभिड सङ्क्रमण दर बढ्न थालेपछि जिल्लास्थित कोभिड नियन्त्रण तथा व्यवस्थापन समितिले सचेतना अपनाउने र आवश्यक तयारी गर्ने जनाएको छ । समितिले कोभिड महामारी फैलँदो अवस्थामा अपनाउनुपर्ने सुरक्षा उपाय, स्वास्थ्य सुरक्षाको मापदण्ड पालना तथा कोभिड विरुद्धको खोपलाई अनिवार्य गरिँदै लैजाने, जिल्लाका सबै अस्पताल ताथ स्वास्थ्य केन्द्रमा कोभिड विरुद्धको अभियानलाई आवश्यक व्यवस्थापन गर्ने सम्बन्धमा निर्णयसमेत गरेको छ । भीडभाड हुने स्थलमा अनिवार्य मास्कको प्रयोग गर्न, नियमित हात धुन तथा भौतिक दुरी कायम राख्न सर्वसाधारणलाई अपिल गर्ने र स्थानीय तह तथा स्वास्थ्य संस्थालाई कोभिड नियन्त्रण, व्यवस्थापन र उपचारका लागि तयारी अवस्थामा रहने गरी आवश्यक समन्वयका लागि अनुरोध गरिएको छ । अग्रपक्तिमा खटिने सुरक्षाकर्मी तथा उद्धारका लागि खटिने टिम तयार गरी आवश्यक स्वास्थ्य सुरक्षाका लागि पूर्वतयारी गरिएको जनाइएको छ । काभ्रेपलाञ्चोकमा हालसम्म १८ हजार एक सय ७४ लाई कोभिड–१९ सङ्क्रमण भएको थियो । यसमध्ये जिल्लाका एक सय ९६ को मृत्यु भएको थियो ।
सुन्दरबजार नगरपालिकामा ३३ प्रतिशत योजना सम्पन्न लमजुङ । लमजुङको सुन्दबजार नगरपालिकामा चालु आर्थिक वर्ष भित्र कार्यान्वयन हुने गरी सम्झौता भएका योजना मध्ये करिब ३३ प्रतिशत योजना मात्र सम्पन्न भएका छन् । चालु आर्थिक वर्ष २०७९/०८० मा उपभोक्ता समितिमार्फत सञ्चालन हुने गरी वडा वडामा छनौट भएका योजना मध्ये ३३ प्रतिशतले भुक्तानी लिइसकेको योजना शाखाका प्रमुख ऋषिराम पौडेलले बताए । नगरपालिकामा वडागत योजना मध्ये १ सय ५० योजना सम्झौता भएकोमा हालसम्म ३२ दशमलब ९० प्रतिशत अर्थात् ४९ योजना मात्र सम्पन्न भई भुक्तानी लिइसकेका छन् । नगरपालिकाका ११ वडामा चालु वर्षभित्र सम्पन्न हुनेगरी सम्झौता भएका योजनामा सवैभन्दा धेरै वडा नंं. १ र ६ मा २२/२२ वटा योजना रहेका छन् । ती मध्ये १ मा १० वटा र वडा नंं ६ मा ६ वटा योजना सम्पन्न भई भुक्तानी समेत गरिएको नगरपालिका योजना शाखाले जनाएको छ । त्यस्तै वडा नं. ९ मा १९ योजना सम्झौता भएकोमा ११ वटा फछ्र्यौट भइसकेको छ । वडा नं ७ र १० मा हालसम्म कुनै पनि योजना सम्पन्न नभएको योजना योजना शाखाले जनाएको छ । सोबाहेक वडा नंं २ मा चार, ३ मा चार, ४ मा तीन, ५ मा छ, ८ मा चार र वडा नंं ११ मा छ वटा योजना सम्पन्न भई भुक्तानि समेत लिइसकेको बताइएको छ । त्यस्तै वडा नंं ७ र ९ को साझा एक योजना पनि फर्छ्याैट भएको छ । योजना शाखाका अनुसार हालसम्म सम्झौता भएका योजनामध्ये ९ वटा योजना भुक्तानी प्रक्रियामा रहेको र ८८ योजना कार्यान्वयनको चरणमा रहेका छन् । नगरपालिकाले योजना सम्झौताको अन्तिम मिति यहि चैत २५ गते सम्मलाई तोकेको छ । यसअधि सम्झौता भएका तथा अव सझौता हुने योजनाहरु आगामी जेठ मसान्तसम्म कार्यान्वयन गरिसक्नुपर्ने समयसिमा तोकिएको छ । आर्थिक वर्षको अन्त्यसम्म पुग्दा आयोजनाहरु राम्रो नहुने भन्दै अधिकाशं स्थानीय तहले चैत मसान्तभित्रमा सवै योजना सम्पन्न गर्ने समयसिमा तोकेका छन् । तर चैत सकिनै लाग्दा पालिकाहरुमा ५० प्रतिशत पनि योजना सम्पन्न नहुदाँ विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि असार मसान्तमा हतार हतार काम गरी भुक्तानिका लागि चटारो हुने देखिएको वताइन्छ । असार १५ गते भित्रमा सम्झौता भएका सवै योजना सम्पन्न गरी भूक्तानि लिइसक्नुपर्ने प्रावधान रहेकोले कार्यान्वयनको चरणमा रहेको योजनाहरुको काम समयमै सम्पन्न गर्न नगरपालिकाले ताकेता गर्दै आएको योजना शाखाले जनाएको छ ।
छोरी- बुहारीको शैक्षिक गन्तव्य बन्दै बर्दिबास कलेज महोत्तरी । उच्च शिक्षाको रहर पालेका छोरी–बुहारीका लागि महोत्तरीको बर्दिबास–१४ स्थित बर्दिबास जनता बहुमुखी क्याम्पस शैक्षिक गन्तव्य बन्न थालेको छ । गरिबीका कारण अन्यत्र जान नसकेका र टाढा जान अभिभावकको स्वीकृति नपाएका छोरी–बुहारीले यस कलेजमा उच्च शिक्षाको रहर पूरा गर्न पाएका हुन्। केही वर्षयता स्नातकोत्तर तहको अध्यापन पनि गराउन थालेको यो सामुदायिक कलेज अहिले बर्दिबासमात्रै नभएर औरही, भङ्गाहा, गौशालाका साथै मिथिला नगरपालिका र बटेश्वर गाउँपालिकाबाट पनि पढ्न आउनेको उल्लेख्य सङ्ख्या छ । केही वर्ष पहिले स्नातक सकेका छोरी–बुहारी पनि स्नातकोत्तर अध्ययनका लागि आउन थालेका छन् । “छोरीमात्र नभएर विवाहित बुहारी पनि नजिकमा कलेज भएपछि स्नातकोत्तर गर्न भर्ना भएका छन्”, उक्त क्याम्पसकाका सहायक क्याम्पस प्रमुख रुद्रप्रसाद आचार्य भन्छन्, “दश/बाह्र वर्ष पहिले स्नातक सकेर अन्त पढ्न जान नसकेका थुप्रै विवाहित महिला स्नातकोत्तरको अध्यापन थालिएपछि यहाँ पढ्न आउन थालेका छन् ।” बर्दिबास–१४ की भगवतीकुमारी साहलाई विवाहपछि स्नातकोत्तर पढ्न पाइएला भन्ने लागेको थिएन । आफ्नो बस्तीकै नजिक क्याम्पसमा स्नातकोत्तरको पठनपाठन सुरु भएपछि उनलाई घरकै सातोपिठो खाएर पढ्ने अवसर मिलेको छ । “हाम्रो समाजमा गरिबीले मात्र नभई सुरक्षा संवेदनशीलताका कारण पनि छोरी–बुहारीलाई बाहिर पढ्न पठाउन अभिभावकले अप्ठ्यारो मान्छन् तर घर माइती दुवैको साथ पाउँदा अहिले आफ्नै बस्तीको कलेजमा डिग्री गर्दैछु,” उनी भन्छिन्। बर्दिबास–५ चेरु माइती भएकी पवित्रा देवकोटाले पनि स्नातक गरेपछि स्नातोकत्तर गर्ने रहर मार्नुपरेको थियो तर बर्दिबास–१ मा विवाह भएकैले घरबाट एक किलोमिटर दूरीको कलेजमा स्नातकोत्तर तह पढ्न पाइएको उनी बताउछिन। त्यस्तै बर्दिबास–१४ की शोभा साह, बर्दिबास–२ माइती भएकी प्रियन्का सुवेदी, बर्दिबास–१ की सरिता कार्की र शिक्षण पेसाकी पवित्रा आचार्यलाई पनि कलेजको सुगमताले विवाहपछि स्नातकोत्तर तहको अध्ययनको अवसर मिलेको छ । “यहीबाट स्नातक गरेँ, विवाह रौतटहको चन्द्रपुर भयो, अब पढ्न पाइन्न भन्ने थियो तर माइत बसेर पढ्ने वातावरण मिल्यो”, बर्दिबास–२ माइती भएकी प्रियन्का सुवेदी भन्छिन्, “अब पार लगाइन्छ भन्ने लागेको छ ।” यसैगरी शोभा गौतम, कविता राउत र मीना पौडेलसहित स्नातकोत्तर तहका छात्राले बर्दिबासमा उच्च तहको पठनपाठन सुरु हुनु आपूmहरूलाई वरदान नै बनेको प्रतिक्रिया दिएकी छिन्। स्नातकोत्तर तहमात्र नभई स्नातक तहमा पनि छात्राको सङ्ख्या बढी छ । “स्नातकोत्तर तहका कुल ६० मध्ये ४० छात्रा छन् । तिनमा पनि ७० प्रतिशत त विवाहित छन्”,सहायक क्याम्पस प्रमुख आचार्य भन्छन्, “स्नातक तहमा पनि छात्राकै सङ्ख्या बढी छ ।” कक्षा १२ पास गरेपछि गरिबीका कारण बाहिर पढ्न जाने अबसर पाउनु नभएकी बर्दिबास–९ पशुपतिनगरकी रेखाकुमारी महतोले स्नातक तहको अध्ययन यहाँ थालेकी छिन्। स्नातक तह प्रथम वर्षकी उहाँ पढ्न दैनिक साइकलमा सात किलोमिटर दूरीको क्याम्पस पुग्छिन्। “आफ्नै बस्तीको राष्ट्रिय माध्यमिक विद्यालय बनरझुल्लाबाट १२ कक्षा पास गरेँ, धन्न यहाँ कलेज भएकाले पढ्न पाइएको छ ।” पढ्ने दृढसङ्कल्पले थुप्रै पारिवारिक असजिलोलाई नजिकको कलेजले अनुकूल बनाएको रेखाको भनाइ छ । उनीसँगै सो बस्तीका १० जना यस कलेजमा भर्ना भएका छन् । न्यून शैक्षिक शुल्क, घरबस्तीबाट नजिकको कलेज भएपछि छोराछोरीलाई उच्च शिक्षा पढाउन अभिभावकले पनि राहत मिलेको ठानेका छन् । बर्दिबास जनता बहुमुखी क्याम्पसमा स्नातकोत्तरको पठनपाठन सुरु भएको चार वर्ष भएको छ । यो तहको पठनपाठन सुरु भएपछि स्नातक गरेर घरजम गर्न लागेका, जागिरमा गएका र अन्य व्यवसाय सम्हालेका छोरी–बुहारीले स्नातकोत्तर तहको अध्ययन गर्न पाएका छन् । विसं २०६४ मा सञ्चालनमा आएको यो क्याम्पसले स्नातक तहका लागि शिक्षाशास्त्र र वाणिज्य सङ्कायको पठनपाठन सञ्चालन गर्दै आएको छ । स्नातक तहमा विभिन्न विषयको अध्यापन हुँदै आएको छ । त्यसैगरी विसं २०७५ देखि शिक्षाशास्त्रअन्तर्गत नेपाली र स्वास्थ्य विषयमा स्नातकोत्तर तहको पठनपाठन क्याम्पसले सुरु गरेको थियो । स्नातकोत्तर तहको पठनपाठन सुरु भएकाले महोत्तरीकै औरही–८ टिम्किया बस्तीकी सुनिता ठाकुर यस कलेजले आफ्नो चाहना पूरा गरेको बताउछिन्। उनले करिब १५ किलोमिटर दूरी छिचोलेर स्नातक र स्नातकोत्तरको अध्ययन गरेकी हुन्। “एसएलसी (हालको एसइई) पछि मेरो स्टाफ नर्स पढ्ने रहर थियो, गरिबी नै मेरा लागि बाधक बन्यो”, सुनिता भन्छिन्, “जे होस् अभावैअभावका बीचमा पनि स्नातकोत्तर पुरा गरेँ ।” आफन्तहरूले आफ्नो स्नातक सकिएपछि विवाहको प्रस्ताव ल्याइरहे पनि बुबा रामदुलारले भने यो छोरीको निर्णयमा भर पर्ने बताइदिएर आपूmलाई पढ्ने वातावरण मिलाइदिनुभएको उनको भनाइ छ । “सम्पत्ति नभएर बुवाले स्टाफ नर्स पढ्ने मेरो रहर पु¥याउन सक्नुभएन”, सुनिता भन्छिन्, “तर मेरो पढ्ने इच्छाको सधैँ उहाँले सम्मान र समर्थन गर्नुभयो, मलाई पढ्न छेकबार पनि भएन ।” यसैगरी भक्तपुर माइती भएकी कृष्णमाया बिखुञ्छे(मण्डल) पनि बर्दिबास–८ हाथीलेटमा विवाह भएर आएपछि घर (हाथीलेट)बाटै धाएर स्नातकोत्तर तह पार भएपछि दङ्ग छिन् । “एसएलसी गर्दै गर्दा विवाह गरियो, त्यो पनि मधेसका मण्डलसँग बिहे गरेपछि अगाडि पढ्न पाइन्न कि भन्ने लागेको थियो”, उनी भन्छिन्, “तर पति, सासु, ससुरा सबैले वातावरण मिलाइदिँदा स्नातोकत्तर पार लगाएँ ।” क्याम्पसमा यसअघि पनि घरबाटै पढ्न सक्ने वातावरण पाएर छोरी–बुहारीले स्नातकतहसम्मको अध्ययन गर्न पाएका क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष गुञ्ज खड्का बताउँछन्। क्याम्पसमा स्नातक तहमा शिक्षा र वाणिज्य सङ्कायको पठनपाठन हुँदै आएको छ । स्नातकोत्तर तहमा भने शिक्षा सङ्कायमा नेपाली र स्वास्थ्य विषयको मात्र त्रिभुवन विश्वविद्यालयले अनुमति दिएको क्याम्पस प्रमुख तोपबहादुर ठकुरीको भनाइ छ । अहिले स्नातक र स्नातकोत्तर तहमा गरी एक हजार एक सय छात्रछात्रा रहेकामा ६० प्रतिशत भन्दामाथि छोरी–बुहारीको सङ्ख्या रहेको उनी बताउँछन्। जताततै सामुदायिक क्याम्पसहरूको शाख गिर्दै गएको प्रतिक्रिया आए पनि यस क्याम्पसको भने शान बढेको छ । अभिभावकको चासो, शिक्षकको समर्पण, व्यवस्थापन समितिको लगन र विद्यार्थीको मेहनतले क्याम्पसले उच्च शिक्षामा राम्रो फड्को मारेको बर्दिबास–८ का सेवा पूर्वशिक्षक सत्यनारायण यादव बताउँछन्।
बैतडीमा नौ महिनामा ७४ जना हराए बैतडी। भारतसँग सीमा जोडिएको बैतडीमा चालु आर्थिक वर्षको नौ महिनामा ७४ जना बेपत्ता छन्। जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार चालु आवको अहिलेसम्म ४७ महिलासहित ७४ जना बेपत्ता भएका हुन्। बेपत्ता भएका ४७ महिलामध्ये ३० जना फेला परेका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए। यस्तै १८ बालिका बेपत्ता भएकामा सात र चार बालक बेपत्ता भएकामा तीन र पाँच पुरुष बेपत्ता भएकोमा एक पुरुष मात्रै फेला परेका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। हराउने महिला तथा बालबालिकामध्ये केही प्रहरीको सक्रियतामा भेटिन्छन् भने केही आफन्तकै पहलमा भेटिने गरेका प्रहरी निरीक्षक खत्रीको भनाइ छ। हराउने बेला प्रहरीलाई खबर गर्ने गरेका भए पनि धेरै जना भेट्टिएका भए पनि प्रहरीमा खबर नगर्ने पनि गरेका छन्। हराएकाको अझै पनि जिल्लास्थित मातहतका प्रहरी चौकी तथा छिमेकी जिल्लामा हुलिया एवं तस्वीरसहित पत्राचार गरिएको र खोजी भइरहेको प्रहरीले जनाएको छ। भारतसँग सीमा जोडिएको जिल्ला भएकाले सीमानाकामा पनि कडाई गरिएको छ।
शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा गस्तीका लागि हात्ती अपुग महेन्द्रनगर । तीन सय पाँच वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पछिल्ला वर्षमा वन्यजन्तुको सुरक्षाार्थ गरिने गस्तीलाई हात्तीको अभाव रहँदै आएको छ । विश्वमै दुर्लभ बाह्रसिङ्गेको प्रमुख बासस्थान शुक्लाफाँटामा ३६ पाटेबाघ, १७ वटा गैँडालगायत चराचुरुङ्गीका साथै वन्यजन्तुको महत्वपूर्ण बासस्थान हो । भारतसितसमेत जोडिएको शुक्लाफाँटामा लामो समयदेखि सडक सञ्जालको पहुँच नभएको र तालतलैया भएको संवेदनशील क्षेत्रमा हात्तीको सहारामा निकुञ्ज कर्मचारी र निकुञ्ज सुरक्षार्थ खटिएको सेनाले गस्ती गर्ने गरेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयका रेञ्जर प्रयास केसीले शुक्लाफाँटामा १० वटा हात्तीको दरबन्दी रहे पनि अहिले एउटा छावा (बच्चा)सहित सातवटामात्रै रहेको बताए। “अहिले छवटा हात्तीबाट निकुञ्ज गस्ती भइरहेको छ”, रेञ्जर केसीले भने, “हात्ती माग गर्दागर्दा मुस्किलले तीन महिनाअघि चितवनबाट यहाँ एउटा पोथी र अर्को बच्चा हात्ती ल्याइएको हो ।” यहाँ निकुञ्जभित्र पश्चिम सेक्टरमा हात्तीबाट गस्तीलगायत वन्यजन्तु सुरक्षामा जोड दिइएको भए पनि पूर्व अर्जुनी सेक्टरमा भने कर्मचारी र सैनिक जनशक्ति परिचालित छ । “हात्तीकैै अभावले केही पर्दा मात्रै पूर्वी सेक्टरमा हात्ती पठाउने गरेका छौँ”, केसीले भने, “निकुञ्जलाई १५ देखि २० वटा हात्ती आवश्यक छ ।” उनले हरेक दुई–तीन महिनामा राष्ट्रिय निकुञ्ज तथा निकुञ्ज संरक्षण विभागमा हात्तीको मागसहित पत्राचार गर्दै आएको बताए । यहाँ निकुञ्जभित्र पिपरिया, शुक्ला र मालुमेला गरी तीनवटा स्थानमा हात्तीसार छन् । एउटा हात्ती गस्ती लैजानेदेखि स्याहारसम्म गरेर माहुत, पछुवा र फणित गरेर तीन कर्मचारी खटिने गरेको केसीको भनाइ छ । “सातवटा हात्तीमा अहिले २१ जना कर्मचारी खटिएका छन्”, उनले भने । हात्ती अभावले यहाँ आउने पर्यटकलाई हात्तीबाट अवलोकन भ्रमण गराउन सकिएको छैन । “पर्याप्त हात्ती भए पर्यापर्यटनलाई पनि सहज हुन्थ्यो”, केसीले भने, “गस्तीकै लागि हात्ती पु¥याउन नसकिएको अवस्था छ ।” निकुञ्ज कार्यालयका अनुसार केही वर्षयता मात्रै बूढो भएर दुईवटा हात्तीको मृत्यु भइसकेको छ । “शुक्लाफाँटामै जन्मिएको हात्ती ‘नारायणप्रसाद’ हो”, उनले भने, “नारायणप्रसाद अहिले १५ वर्षको भइसक्यो ।” विसं २०२६ मा सिकार आरक्षका रूपमा स्थापना भएको शुक्लाफाँटा २०७३ साल फागुनमा राष्ट्रिय निकुञ्ज घोषणा भएको थियो ।
किसानलाई हिउँदे बाली भित्र्याउन चटारो, बर्सातले चिन्तित दाङ । कोही खेतबारीमा गहुँ काटिरहेका छन्, कोही घरमा चना, मुसुरो दाइँ लगाइरहेका छन् भने कोही टाउकामा तोरी बोकेर घरतर्फ ल्याइरहेका देखिन्छन् । यहाँका किसानलाई अहिले हिउँदे बाली भित्र्याउन चटारो छ । किसानका खेतबारीमा पुग्दा तोरी, गहुँ, मुसुरो, चनालगायत बाली भित्र्याउन चटारो परेको देखिन्छ । बाली भित्र्याउने समयमा पानी परेपछि भने किसान चिन्तित छन् । तुलसीपुर उपमहानगरपालिका–१५ पहरुवाकी कमला बस्नेतले अहिले एक्कासि परेको पानीका कारण अन्नबाली जोगाउन समस्या भइरहेको बताइन्। “बाली भित्र्याउने बेला भएको थियो, एक्कासि पानी परेकाले समस्या बनाएको छ”, उनले भनिन्। केही दिनअघि परेको बर्सातले बाली भित्र्याउन नपाएका किसान अझै पनि आकाश पूर्ण रूपमा सफा नहुँदा चिन्तित छन् । “हिउँदभरि स्याहार गरेर जोगाएको अन्न पानीले कुहिने हो कि भन्ने डर छ”, किसान प्रमिला चौधरीले भनिन्। उनले आफ्ना छ महिनाको मेहनत कुहिन्छ कि भन्ने चिन्ता लागेको बताइन् । दाङ तोरी उत्पादनका लागि उपयुक्त वातावरण भएको जिल्ला मानिन्छ । यहाँ दुई याममा तोरी खेती गरिँदै आइएको छ । करिब १७ हजार हेक्टर क्षेत्रफलमा बर्सेनि २५ हजार मेट्रिक टन तोरी उत्पादन हुने दाङस्थित कृषि ज्ञान केन्द्रले जनाएको छ । दङ्गीशरण, शान्ति नगर र बवईलगायत क्षेत्रमा तोरी खेती हुने गरेको छ । जिल्लामा १२ हजार हेक्टरमा गहुँ खेती हुँदा ३० हजार मेट्रिक टनको हाराहारीमा उत्पादन हुने गर्छ । केन्द्रका अनुसार २७ हजार छ सय हेक्टर जमिनमा मुसुरो खेती हुने गरेकामा करिब २० हजार एक सय मेट्रिकटन उत्पादन भइरहेको छ । यहाँ बर्सेनि विभिन्न दुई दर्जन खाद्य बालीको खेती हुने केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।
विपदका कारण चार हजारभन्दा बढी परिवार विस्थापित देउखुरी। दाङमा पछिल्लो एक वर्षमा विपद्जन्य घटनाका कारण चार हजार दुई सय ३७ परिवार विस्थापित भएका छन्। जिल्ला विपद् व्यवस्थापन समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी सुशील वैद्यका अनुसार गत वैशाखदेखि चैत २३ गतेसम्म विभिन्न विपद्जन्य घटनाका कारण ठूलो क्षति भएको छ। जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र दाङका अनुसार आगलागी, हावाहुरी, बाढी, पहिरो, भारी वर्षा, पानीमा डुबेर, पानीले बगाएर, चट्याङआदिले आठ सयभन्दा बढी विपद्जन्य घटना घटेका छन्। “जिल्लामा विपद्का घटना सकेसम्म न्यूनीकरणको प्रयास भइरहेको छ, यसका लागि सबै पालिकामा भइरहेका प्रयासबारेमा जानकारी लिने र थप तयारीमा जुट्न अपिल गरेका छौँ”, प्रमुख जिल्ला अधिकारी वैद्यले भने, “जिल्लाको भूगोल ठूलो छ, गाउँपालिकाले अपेक्षाकृत तयारी कम गरेको पाइएको छ, त्यसका लागि सचेत गराउने काम भएको छ।” उनले जिल्लामा कुनै पनि दुर्घटना न्यूनिकरणका लागि सरोकारवालासँग समन्वय गरी पूर्वतयारीका कार्यक्रम, सचेतनामूलक अभियान पनि चलाउँदै आएको बताए। “हाल पालिकामा काम कसरी भइरहेको छ भनेर जानकारी लिइरहेका छौँ, प्रयास राम्रो भए निरन्तरता दिन भनेका छौँ”, उनले भने, “अपेक्षाअनुसार उपलब्धि नभए कारण पहिचान गर्दै गम्भीरतापूर्वक लाग्न लगाएका छौँ।” जिल्लाको उपमहानगरपालिका, नगरपालिकाले विपद्जन्य घटना न्यूनीकरणका लागि पूर्वतयारी गरे पनि गाउँपालिकास्तरमा तयारी कमजोर देखिएको प्रमुख जिल्ला अधिकारी वैद्यको भनाइ छ। “पालिकास्तरमा सरोकारवालासँग समन्वय गरेर विपद पूर्वतयारी गर्न भन्दै आएका छौँ, केही ठाउँमा भएको पनि छ तर, उपमहानगरपालिका र गाउँपालिकास्तरमा विपद् पूर्वतयारी फितलो भएको पाइएको छ”, उनले भने। दाङमा हालसम्म भारी वर्षा र आगलागीका कारण क्षति भएको जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रका होमलाल न्यौपानेले जानकारी दिए। विपद्का कारण करोडौँको भौतिक तथा आर्थिक क्षति पनि भएको छ। विपद्मा परेर थुप्रै परिवार विस्थापित भएका छन्। उनका अनुसार गत वैशाखदेखि चैत २३ सम्म आगलागीका ५८ वटा घटना भएका छन्। वैशाखमा १९ वटा, जेठमा तीन, साउनमा तीन, भदौमा दुई, असोजमा एक, कात्तिकमा तीन, मङ्सिरमा पाँच र चैतमा तीनवटा आगलागीमा सयौँ परिवार विस्थापित भएका छन्। आगलागीका कारण मानवीय क्षति भने भएको छैन। भारी वर्षाका कारण असारमा चार, साउनमा तीन, भदौमा ३८, असोजमा तीन सय ८६, कात्तिकमा पाँचवटा घटना भएका छन्। बाढीपहिराका तीन सय सातवटा घटना भएका छन्। जिल्लामा हालसम्म चट्याङका छवटा घटना भएका छन्। जिल्लामा सर्पदंशका तीनवटा घटना तथा भूकम्पका दुईवटा घटना भएका छन्। करेन्ट लागेका छवटा घटना भएका छन् भने पानीमा डुबेर तथा बगाएर १२ वटा घटना भएको जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रको तथ्याङ्कमा उल्लेख छ। जिल्लामा एक वर्षको अवधिमा विभिन्न प्रकृतिका विपद्जन्य घटनाका कारण करिब १९ करोड ५० लाख ५८ हजार बराबरको आर्थिक क्षति भएको छ। यसैबीच जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले गर्मी मौसम सुरु भएको हुँदा आगलागीका घटना हुने सम्भावनालाई मध्यनजर गर्दै जोखिमबाट बच्न, बचाउन तथा नियन्त्रणका लागि पूर्वतयारीस्वरुप पालिकास्तरमा विभिन्न गतिविधि सञ्चालन गर्ने निर्णय गरेको छ। विपद् व्यवस्थापन समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी सुशील वैद्यको अध्यक्षतमा बिहीबार बसेको पालिका स्रोतका फोकल पर्सनबीचको बैठकले पालिकाका सबै वडा क्षेत्रमा आगलागी तथा वन डढेलोका घटना भएमा तत्कालै स्थानीय आपत्कालीन कार्यसञ्चालन केन्द्रहरूले जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रमा सूचना दिई नजिकका सुरक्षा निकायसँग समन्वय गरी नियन्त्रण गर्ने निर्णय गरेको छ। बैठकले पालिकामा रहेका दमकल साथै अग्नि नियन्त्रणका सामग्री तयारी अवस्थामा राख्ने र उद्धारमा प्रयोग हुने सामग्रीको अभिलेख अद्यावधिक गरी जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रमा पठाउने निर्णय गरेको छ। गर्मी मौसम सुरु भएसँगै केही दिनयता जिल्लामा आगलागीका जोखिम बढेको छ। जिल्लाको पश्चिम दाङ, देउखुरी क्षेत्रका सामुदायिक वन तथा सार्वजनिकस्थलमा आगलागीका घटना भइरहेका छन्। वन डढेलो नियन्त्रण तथा रोकथामका लागि डिभिजन वन कार्यालय, सवडिभिजन वन कार्यालय, सामुदायिक वन समूहलगायतको सक्रियता छ। रासस
पाल्पामा मौरीपालन फस्टाउँदै, कृषक आकर्षित पाल्पा। पाल्पामा मौरीपालन फस्टाउँदै गएको छ । घरका आँगन, बारीका डिल, पाखापखेरामा मौरीघार राखेर व्यावसायिक उत्पादन गर्नेक्रम बढेको छ । कृषि ज्ञानकेन्द्र पाल्पाले इच्छुक कृषकलाई प्रविधि सिकाउन थालेपछि यसप्रति कृषकको आकर्षण बढेको पाइएको छ । कार्यालयले मौरीपालनलाई व्यवसायीकरण गर्न स्थलगतरुपमा मौरी स्रोत विकास केन्द्रमा नै पुगेर कृषकलाई प्रयोगात्मक प्रविधिबारे जानकारी दिने गरेको कृषि ज्ञानकेन्द्र पाल्पाका प्रमुख कामना अधिकारी बताउँछिन्। “स्थलगत प्रविधि सिकाउन थालेपछि मौरीपालनमा कृषकको आकर्षण बढेको छ”, उनले भनिन्, “व्यवसाय गर्न इच्छुकलाई प्रविधि, मौरीपालनका लागि आवश्यक पर्ने विभिन्न उपकरण तथा सामग्री कार्यालयले आवश्यकताका आधारमा सहयोग गरिरहेको छ, व्यावसायिक गर्ने किसान क्रमिकरुपमा बढिरहनुभएको छ ।” मौरी प्रवद्र्धनका लागि विगत वर्षदेखि कार्यालयले विभिन्न कार्यक्रम गरिरहेको र यस वर्ष कृषकको क्षमता वृद्धिका लागि विभिन्न तालिम, सेरेना मौरी वंश सुधारका लागि पूर्वी रुकुम र जुम्लाबाट रानो ल्याएर मौरी संरक्षण गर्ने कार्यक्रम रहेको प्रमुख अधिकारीले बताइन्। उनका अनुसार पूर्वी रुकुमबाट रानो ल्याइसकेको र जुम्लाबाट ल्याउने तयारी भइरहेको छ । प्रयोगात्मकरुपमा प्रविधिबारे जानकारी पाएपछि मौरीपालनमा धेरै सहज भएको कृषक टीकाराम पाठक बताउँछन्। उनका घरमा हाल १६ वटा आधुनिक मौरीका घार छन् । उनले २०६६ देखि नियमितरुपमा मौरीपालन व्यवसाय गरिरहेका छन्। एक घारबाट सुरु गर्नुभएका पाठकले घार बढाउँदै गएका छन्। “मौरीको वर्गीकरण, रानी मौरी पहिचान, गोला निरीक्षण, गोला विभाजनलगायतका प्रविधि सिकेपछि व्यवसायमा सजिलो भएको छ, मौरीपालनमा मह काढ्ने तरिका, गोला विभाजनलगायतका प्रविधिमा व्यवसायी पोख्त बन्नुपर्छ, सानो प्रविधि जानिएन भने व्यावसायीकरणमा समस्या हुन्छ”, उनले भने। कृषकको माग र आवश्यकताका आधारमा हरेक वर्षजसो मौरीपालन प्रवद्र्धनका कार्यक्रम कार्यालयबाट भइरहेको र व्यावसायिकरुपमा गर्नेले यसबाट मनग्य कमाइ गरिरहेको कृषि ज्ञानकेन्द्रका बाली संरक्षण अधिकृत मिलन गैरेले बताए । प्रशस्त चरनको क्षेत्र, बगैँचा, घरका आँगन, बार्दली, बारीका कान्ला, डिलमा घार राखेर मौरीपालन गर्नेको रामपुर क्षेत्रमा आकर्षण बढ्दै गएको रामपुर नगरपालिकाका कृषि शाखा प्रमुख रामहरि पाण्डेय बताउँछन्। सानो लगानीबाट व्यवसायीकरण गर्न सकिने, यससँगै अन्य व्यापार, व्यवसाय, पेसामा आबद्ध रहे पनि मौरीबाट आयस्रोत भित्र्याउन सकिने हुँदा यसप्रति धेरैको आकर्षण बढिरहेको छ ।
सरकारले बनाएको ‘नमूना बस्ती’ मा समस्याका चाङ बागलुङ । घामपानी ओत्ने बास जमिनसँगै भाँसिएपछि ४८ वर्षीया धनमायाको परिवार पाँच वर्ष अर्कैको घरमा बस्यो। कहिले छिमेकी त कहिले आफन्तको घरमा उहाँहरुका दिन बिते। विसं २०७२ पछि धनमाया दर्जी र १४ परिवार एकैपटक गाउँबाट बिस्थापित भए । भूकम्पले हल्लिएको जमिन एकाएक भाँसिएपछि सबैले गाउँ छोडे । पाँच वर्षपछि धनमायाको परिवारले आफ्नै घर पाएको छ । उनी मात्र होइन काठेखोला गाउँपालिका–५ बिहुँ काहुलेका दश परिवारले पाँच वर्षको कष्टपूर्ण समयपछि गत वर्ष आफ्नै घर पाएका हुन्। काठेखोला–५ मा एकैनासका १० घर बनेका छन् । सरकारले बनाएको ‘नमूना बस्ती’ मा धनपाया, रुपा दर्जीलगायतका परिवार मिलेर बसेका छन् । दशवटै घरमा औषतमा पाँच जनाको परिवार बस्छन् । दुई कोठे घर जोडेर बनाइएका छन् । नमूना बस्तीको जग्गा र घरको एकमुष्ट लालपुर्जा छ । लामो समय आफ्नो घर छोडेर बसेको समुदायले घर त पाए तर भर भने अझै पाएका छैनन् । पुर्खौली घर भएको ठाउँमा घरसँगै गरीखाने सम्पत्ति पहिरोले बगाएको छ । नयाँ घर बनेको ठाउँमा खुर्सानी रोप्ने जग्गासमेत नहुँदा पीडित परिवार समस्यामा छन् । “न खेती गरेर खाने जमिन छ, न पशु पाल्न गोठ”, धनमाया दर्जीले भनिन्,“तरकारी त फलाउन सकिन्थ्यो तर, एक टुक्रा जग्गा छैन ।” मजदुरी गरेर खाने अधिकांश परिवारमा बिहान बेलुका छाक टार्नै समस्या छ । घरायसी प्रयोजनका लागि तरकारीसमेत उत्पादन गर्न नपाउँदा थप समस्या भएको दर्जी बताउँछन्। बस्तीका दशवटै परियारमा यो समस्या छ । ठूलो परिवार भएकालाई नमूना बस्तीमा बनेका घर अपर्याप्त छन् । दुईकोठे घरमा परिवार अटाउनै कठिन हुने स्थानीय रुपा दर्जीले बताइन्। पाहुना आउँदा राख्ने ठाउँको त कुरै नगरौँ । एउटा कोठामा भन्छा र अर्कोमा खाँदीएर बस्नुपरेको पीडा उनीहरुसँग छ । बालबालिका खेल्ने ठाउँको अभाव छ । पीडितले सरकारसँग रोजगारको माग गरेका छन् । नमूना बस्तीमा खानेपानीको अभाव छ । वर्षा यामको पानी व्यवस्थापनका लागि बनाइएको नालीले पानी थेग्दैन । बस्ती वरपर बनाउने भनिएको पदमार्ग र सार्वजनिक सभाहल पनि हालसम्म बनेको छैन् । “कोरोना महामारी अघि रु ४० लाखको योजना थियो, नाली, पानी, भवन तथा बाटोका लागि, तर कामै नभई सकियो”, उपभोक्ता समितिको अध्यक्ष समेत बनेकी धनमायाले भनिन्, “रु आठ लाखको काम गरेर नाली बनाइयो, बाँकी काम गर्न सकिएन, कोरोनापछि बजेट आएन ।” सबै गाउँमा मोटरबाटो पुगे पनि आफूहरुको बस्तीसम्म सडक नपुगेको उनको गुनासो छ । सरकारले आफूहरुका लागि खानेपानी र सडक निर्माण गरिदिए सहज हुने धनमायाको भनाइ छ । “ठूलो घर त हामीले मागेकै छैनौँ, सके बनाउँला नसके भएकाले काम चलाउँला”, उनी भन्छन्, “कम्तीमा तरकारी रोपेर खाने जमिन मात्रै भए पनि बिहान बेलुका खान पुग्थ्यो ।” गाउँपालिकाका अध्यक्ष राजु थापाले नमूना बस्तीमा रहेको खानेपानी समस्या समाधानका लागि गाउँपालिकाले योजना बनाएको उल्लेख गर्दै समस्या केही समयमै समाधान हुने बताए। उनले बस्तीसम्म सडक पु¥याउने प्रयास थालेको बताए। देशविदेशमा रहेका बिहुँ र बागलुङबासी तथा गाउँपालिकाको सहयोगमा जग्गा खरिद गरेर राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको सहयोगमा घर निर्माणपछि नमूना बस्ती तयार भएको थियो । बस्ती तयार भए पनि आवश्यक संरचना भने अझै तयार भइसकेका छैनन् । स्थानीयले घरको लालपुर्जा आफूसँग नभएको पीडा सुनाए ।
पोखरीमा डुबेर किशोरको मृत्यु सर्लाही। सर्लाहीको ईश्वरपुरमा पौडी खेल्ने क्रममा एक किशोरको मृत्यु भएको छ। ज्यान गुमाउनेमा ईश्वरपुर नगरपालिका–३ भक्तिपुरका बलिराम बरहीका १५ वर्षीय छोरा भुवन रहेका छन्। उनको स्थानीय पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो। बुधबारदेखि हराइरहेका किशोरको शव बिहीबार साँझ पोखरीमा डुबेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। बुधबार दिउँसो एक्लै साइकल चढेर घरबाट निस्किएका भूवन रातिसम्म घर नफर्किएपछि अभिभावकले प्रहरीलाई जानकारी गराएका थिए।
अरुण तेस्रो मुआब्जा विवादः छुट जग्गाको मुआब्जा प्रक्रिया अघि बढ्यो किमाथाङ्का। सङ्खुवासभामा निर्माणधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेशमार्ग छयाङ्कुटी–दिदिङ सडकखण्डको छुट जग्गाको मुआब्जा प्रक्रिया अगाडि बढेको छ। छयाङ्कुटी–दिदिङ २४ किमी प्रवेशमार्गको छुट जग्गाको मुआब्जा प्रक्रिया अगाडि बढेको हो। आज जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी कुमार वीरेन्द्र यादवको अध्यक्षतामा बसेको बैठकले अरुण तेस्रो छुट जग्गाको मुआब्जा प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो। विसं २०४६ मा मुअब्जा वितरण भएको तर २०५१\५२ मा नापी हुँदा सरकारी स्वमित्वमा लगत कट्टा हुनुपर्नेमा व्यक्तिको नाममा भएपछि विसं २०६६\६७ मा लगत कट्टा हुदाँको छुट जग्गाको मुआब्जा दिइने भएको हो। छुट जग्गाको मुआब्जा दिन १५ दिने सूचनासमेत प्रकाशन गरिसकिएको प्रमुख जिल्ला अधिकारी यादवले बताए। पन्ध्र दिने सूचना प्रकाशनपछि मुआब्जा निर्धारण समितिको बैठकले मूल्य तोकेपछि मुआब्जा वितरण सुरु हुने बताइएको छ। प्रवेशमार्गको ‘एलाइमेन्ट चेन्ज’ हुँदा कतिपय मुआब्जा नै नलिएका व्यक्तिको जग्गाबाट समेत सडक खनिएको थियो। छुट भएको चार सय ५१ रोपनी जग्गाको मुआब्जा दिइने मुआब्जा निर्धारण समितिका संयोजक सहायक प्रजिअ मोहनमणि घिमिरेले बताए। मुआब्जा निर्धारण समितिको प्रतिवेदनका आधारमा विसं २०७८ चैत १७ गतेको मन्त्रिपरिषद् बैठकले छुट जग्गाको मुआब्जा दिने निर्णय गरेको थियो। छ्याङ्कुटीबाट विद्युत्गृह पुखुवासम्मको छुट जग्गाको मुआब्जा नपाएको भन्दै स्थानीयले पटक–पटक अवरोध गर्दै आइरहेका छन्। अरुण तेस्रोे आयोजनाको करिब ६५ प्रतिशत काम सम्पन्न भइसक्दा पनि प्रवेशमार्गको मुआब्जा विवाद अझै समाधान हुनसकेको छैन। सङ्खुवासभाको मकालु गाउँपालिका–५ फ्याक्सिन्दामा बाँधस्थल निर्माणधीन छ भने चिचिला गाउँपालिका–३ पुखुवामा विद्युत्गृह निर्माण भइरहेको छ। नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको काम भारतीय सतलज कम्पनी (एसजेभिएन)ले गरिरहेको छ। आयोजनाको कुल लागत रु एक खर्ब चार अर्ब हुने अनुमान गरिएको छ।
ओझेलमा सिस्नेका गुप्ता दह रुकुमपूर्व। वारि हिमाल, पारि हिमाल। सिस्नेसँगै टल्किएको द्धवारी हिमाल। हिमालै–हिमालको बीचमा साना–ठूला पहाडका थुम्का। अनि तिनै थुम्काको बीचमा टिलपिलाइरहेका दह, सानो गुप्ता र ठूलो गुप्ता। तिनै दुई गुप्तामा मुस्कुराउँदै फुलेको सिस्ने हिमाल। मनै लोभ्याउने सुन्दर दृश्य। यो दृश्यमा अझै पनि धेरैको नजर पुग्न सकेको छैन। यहाँ पुग्ने बाटो सहज छैन। गए पनि बसाइ व्यवस्थापन असहज छ। प्रचार–प्रसारको पनि अभाव छ। सिस्ने हिमालको दृश्य टाढैबाट रुकुमपूर्व र पश्चिमका विभिन्न ठाउँसँगै रोल्पा, सल्यान, दाङका केही ठाउँबाट पनि अवलोकन गर्न सकिन्छ। गुप्ता दह केही समय अघिसम्म गुमनाम अवस्थामा थिए। पछिल्लो समय सिस्ने हिमालसँगसँगै गुप्ता दहको नाम पनि जोडिएर आउन थालेको छ। आन्तरिकसँगै बाह्य पर्यटकको रोजाइमा समेत यो क्षेत्र पर्दै गएको छ। जिल्ला सदरमुकाम रहेको ठाउँ रुकुमकोटबाट दुई दिनको पैदल यात्रापछि यस ठाउँमा पुग्न सकिन्छ। अहिले सामान्यतया मानिसले बढी प्रयोग गर्ने मार्ग रुकुमकोट–नायगाड–भट्टेचौर–ओख्रेना–दमार–गुप्ताको मार्गबाट निरन्तर दुई दिनको पैदल यात्रापछि यस ठाउँमा पुगिन्छ। डाँडाकाँडा घुम्दै र रमाउँदै हिँड्ने हो भने बाटोमा मात्रै तीन दिन पनि छुट्याउनुपर्ने हुन्छ। वारिपट्टि हावाको बेगसँगै गुप्ताको पानी वारिबाट पारि पल्टिँदा उत्तरतर्फ लहरै लाइन लागेका सिस्ने हिमाल, द्धवारी हिमाल (द्धवारी भन्ज्याङ)सँगै अन्य हिमाल टलक्क टल्किँएको दृश्यले लोभ्याउँछ। सिस्ने हिमालको उचाइ पाँच हजार नौ सय ११ मिटर छ। यसै हिमालको नामबाट सिस्ने गाउँपालिकाको नामकरण गरिएको छ। किन भनियो गुप्ता? गुप्ता दह पनि एउटामा सीमित छैन। सानो र ठूलो गरी दुई छन्। दर्जन बढी ताल रहेको यस ठाउँमा यी दुई दह गुमनाम अर्थात् गुप्त अवस्थामा रहेका कारण यी दहको नाम गुप्त रहेको वडा नं १ का वडाध्यक्ष रजबहादुर बुढाले बताए। पछि सबै मानिसले गुप्त छाडेर गुप्ता भन्दा अहिले गुप्ता दहको नामले यो ठाउँ परिचित भएको उनको भनाइ छ। उनका अनुसार गुप्ता दह अवस्थित ठाउँलाई लिरुमारे पनि भनिने गरेको छ। परापूर्वकालमा शिकारीले लिरु भन्ने जनावर मारेकाले ‘लिरु मारे’ नाम रहन गएको किंवदन्ती छ। यो वडामा नौ ताल मिलेको नौ दह ताल, दोसान्त ताल, रक्त ताललगायतका अन्य हिमताल पनि छन्। केही सीमिति व्यक्ति यी ठाउँमा पुगे पनि नौ दह ताल, दोसान्त ताल, रक्त ताल कस्ता छन् भन्ने कुरा धेरैलाई थाहा छैन। गुप्ता पुग्न र बस्न समस्या गुप्ता पुग्न र त्यहाँ पुगिसकेपछि बस्नलाई भने समस्या छ। गुप्तासम्म पुग्न सहज बाटोको व्यवस्था नहुँदा त्यहाँ जान खोज्ने मानिस पनि बाटोमै अलमलिने अवस्था छ। अहिलेसम्म गुप्ताको गन्तव्य तय गरेकाहरू स्थानीयलाई साथमा लिएर जाने गरेका छन्। स्थानीयलाई साथमा नलिएकाहरु बाटो हराउँदै जङ्गलमा भौतारिएर त्यहाँसम्म पुग्ने गरेको सिस्ने–१ का बासिन्दा परिमल बुढाले बताए। पर्यटकीय हिसाबले ठूलो सम्भावना बोकेको क्षेत्र भए पनि आवश्यक विकास र प्रचार–प्रसारको अभावले यो क्षेत्र पछि परेको उनको बुझाइ छ। अहिलेसम्म सडक सञ्जालमा जोडिन नसकेको यस वडामा पर्यटकीय गन्तव्य अथाह भए पनि तिनीहरूको खोज, अध्ययन, विकास, व्यवस्थापन र प्रचार–प्रसार हुन नसक्दा महत्व बोकेका ठाउँ बाहिर आउन नसकेको सिस्ने–१ स्थित हिमालय मावि पाखापानीका प्रधानाध्यापकसमेत रहेका उमेश खड्काले बताए। पर्यटन क्षेत्रको विकास गरेर आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सके त्यसैबाट यहाँका नागरिकको जीवनस्तर माथि उठ्ने र पालिकासँगै जिल्लाको आर्थिक अवस्था बलियो हुनसक्ने उनको भनाइ छ। अहिले गुप्तासम्म पुग्न कठिन बाटो, पुगिसकेपछि पनि खान र बस्नको उचित व्यवस्था नहुँदा यहाँसम्म पुग्ने मानिसले समस्या खेप्नुपरेको खड्काले बताए। अहिले गुप्तामा पाहुनाघर भनेर भवन निर्माण गरे पनि व्यवस्थित नभएको उनको भनाइ छ। उनी भन्छन्, “खानेपानीको पनि समस्या छ, दहबाट अलि टाढा एउटा मुहान भए पनि त्यसमा बर्खामा मूल फुट्ने र हिउँदमा सुक्ने हुँदा गुप्ता पुग्नेले दहको पानी पिउनुपर्ने अवस्था छ।” तीन दिनको पैदलयात्रापछि गुप्ता पुग्नुभएका सिस्ने गाउँपालिकामा कार्यरत सूचना प्रविधि अधिकृत अच्युत पन्थीले पैदलमार्गलाई व्यवस्थित गरिदिए मात्र पनि यहाँसम्म पुग्ने पर्यटकलाई सहज हुने बताए। यसका साथै गुप्तामा पुगिसकेपछि बसाइ व्यवस्थापनका लागि केही लगानी गरिए मात्रै आन्तरिक पर्यटकको सङ्ख्या बढ्न सक्ने उनको बुझाइ छ। यहाँका स्थानीयले पनि गाउँपालिकाले पर्यटन प्रवद्र्धनका लागि योजना बनाएर काम गर्न आग्रह गरेका छन्। स्थानीयले तत्काललाई पाहुनाघरमा गएका मानिसलाई बस्न लत्ताकपडाको व्यवस्थापन गरिदिन माग गरेका छन्। यहाँ भएको एउटा मूल संरक्षण गरी पिउनेपानी व्यवस्था गरिदिन अनुरोधसमेत स्थानीयको माग छ। सिस्ने–१ मा अन्य थुप्रै पर्यटकीय गन्तव्य रहेको तर तिनीहरूको पहिचान हुन बाँकी रहेको वडाध्यक्ष बुढाले बताए। उनका अनुसार नौ ताल मिलेर बनेको नौ दह ताल, दोसान्त ताल, रक्त तालका बारेमा अझै पनि आम मानिस जानकार नै छैनन्। टाढा पर्ने, पैदल हिँड्नुपर्ने, बसाइ व्यवस्थापन सहज नहुनु, सुरक्षा चुनौतीलगायत कारण यी ठाउँ अझै पनि गुप्त अवस्थामा रहेका उनी बताउँछन्। यी र यस्तै क्षेत्रको पहिचान तथा विकास गर्न वडा सरकारको प्रयासले मात्र सम्भव नहुने भन्दै पालिका, प्रदेश र सङ्घ सरकारसँग पनि सहकार्य गरेर काम गर्ने उनको भनाइ छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकासविक्रम शाहले गुप्ता र सिस्ने वरपरको दृश्यलाई बाहिर ल्याउन अति नै आवश्यक रहेको बताए। यी पर्यटकीय गन्तव्य कुनै एउटा वडा, पालिकाको मात्र नभएर देशकै सम्पत्ति भएकाले यस्ता क्षेत्रको विकास गरी पर्यटन प्रवद्र्धनमा टेवा पुर्‍याउन सबैले आ–आफ्नो ठाउँबाट लाग्नुपर्ने उनको भनाइ छ। गुप्तामा गाउँपालिकाले निर्माण गरेको तीनकोठे पाहुनाघरलाई पनि व्यवस्थित गरिने उनले बताए। कसरी पुग्ने गुप्ता? गुप्ता पुग्न तीन मार्ग छन्। यीमध्ये सबैभन्दा सजिलो रुकुमकोटबाट सुरु भएको मार्ग हो। रुकुमकोटबाट ३०–४५ मिनेट गाडीमा यात्रा गरी देउखोलासम्म पुग्न सकिन्छ। त्यहाँबाट पदैलयात्रा सुरु गरेकाहरू तिप्तारा–नायगाड–सुद्री–भङ हुँदै भट्टेचौर गएर बास बस्छन्। त्यहाँबाट अर्को दिन पाखापानी–ओख्रना–दमार गाउँ हँुदै त्यसभन्दा माथि जङ्गलको बाटो भएर गुप्ता पुगिन्छ। यो ठाउँमा मध्यपहाडी लोकमार्ग हुँदै पोखरा काठमाडौँबाट समेत रुकुमकोट आएर गुप्ता जान सकिन्छ। पोखराबाट रुकुमकोटसम्म दुई सय ४३ किलोमिटरको दूरी १२ घण्टामा पूरा हुन्छ। गुप्ता घुम्ने उपयुक्त समय चैत, वैशाख, जेठ, असोज, कात्तिक र मङ्सिर हो। रुकुमपश्चिमको बाफिकोट गाउँपालिकामा रहेको रुकुमपश्चिमको प्रसिद्ध ताल स्यार्पुबाट खालटी हुँदै दुई दिनमा यहाँ पुग्न सकिन्छ। त्यस्तै बाफिकोटबाटै आठबीसकोट नगरपालिका–१ को थुम, रोकाजा, ओख्ले हुँदै तीन दिनको पैदलयात्राबाट पनि यहाँ पुग्न सकिन्छ। जेठदेखि भदौ, असोजसम्म भेँडा लिएर गोठाला यो ठाउँमा जाने गर्छन्। लुम्बिनी प्रदेशको रुकुमपूर्व तथा कर्णाली प्रदेशमा पर्ने रुकुमपश्चिमको तीन स्थानीय तहको भू–भाग छुने र डोल्पाका मनमोहक दृश्यावलोकनसमेत गर्ने गरी नयाँ पदयात्रा ‘सिस्ने राउन्ड’को अन्वेषण पनि पूरा भएको छ। यही राउन्डले गुप्तालाई छोएको सिस्ने राउन्डको नेतृत्व गर्नुभएका हिमाल आरोही मनबहादुर खत्रीले बताए। अहिले अन्वेषणको काम मात्र पूरा भएको र राउन्डमा काम गर्न भने पूरै बाँकी रहेको उनको भनाइ छ। सिस्ने राउन्डको कामलाई पूर्णता दिन स्थानीय सरकारको सहयोगसँगै पर्यटन प्रवद्र्धनको क्षेत्रमा काम गर्ने विभिन्न निकायसँग पलह भइरहेको खत्रीले बताए।
दरबार हाईस्कुलमा नयाँ भर्नाका लागि आउने विद्यार्थी बढे काठमाडौँ । ऐतिहासिक धरोहर मानिने दरबार हाईस्कुल (भानु माध्यमिक विद्यालय) मा कक्षा ७ देखि ९ सम्म नयाँ भर्नाका लागि आउने विद्यार्थीको सङ्ख्या बढेको छ । कुनै समय विद्यार्थीको अभावमा जेनतेन सञ्चालित यस विद्यालयमा नवनिर्मित भवन, सफा खाजा घर तथा थोरै लगानीमा अङ्ग्रेजी माध्ययमा पढाइ हुने हुँदा हरेक दिन नयाँ भर्नाका लागि विद्यार्थी आउने क्रम बढिरहेको हो । त्यति मात्रै होइन एसइई सामुदायिक विद्यालयबाट गरेपछि उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति पाउने भएकाले पनि पछिल्लो समय माथिल्लो कक्षामा विद्यार्थी सिट सङ्ख्याभन्दा बढी आउने गरेको यस विद्यालयका प्रधानाध्यापक शारदा पौडेलले जानकारी दिइन् । शिशु कक्षादेखि कक्षा १० सम्म पठनपाठन भइरहेको यस विद्यालमा तलका कक्षमा पनि नयाँ भर्नाका लागि विद्यार्थी आउने गरेका छन् । काठमाडौँको मुटुमा रहेको ऐतिहासिक धरोहर यस विद्यालयमा आगामी शैक्षिक सत्रका लागि विद्यालयले यही चैत १७ देखि २८ गतेसम्म नयाँ भर्नाका लागि आह्वान गरेको थियो । नयाँ भर्नाका लागि विद्यार्थीको सङ्ख्या बढेपछि स्तरमापन गरेर मात्र भर्ना गर्ने तयारी विद्यालयको छ । उक्त परीक्षाका लागि अनिवार्य पाँच विषय नेपाली, अङ्ग्रेजी, विज्ञान, गणित र सामाजिकको ९अध्ययनरत० कक्षाको पाठ्क्रममा आधारित रहेर प्रत्येक विषयबाट २०÷२० अङ्क भारसहित जम्मा १०० पूर्णाङ्कको प्रश्न सोधिने पनि प्रधानाध्यापक पौडेलले जानकारी दिइन् । स्तरमापन गर्दा पास भएका जतिलाई विद्यार्थीलाई भर्ना लिनुपर्छ । “छनोट गरेर भर्ना गर्दा पनि कक्षा ७ देखि ९ सम्म विद्यार्थीलाई एउटै कक्षालाई तीन सेक्सनमा विभाजन गर्नुपर्ने देखिन्छ”, प्रधानाध्यापक पौडेलले भनिन् । नयाँ भर्नाका लागि आउने विद्यार्थी केही अन्य सामुदायिक विद्यालयबाट नै आएका छन् भने अधिकांश निजी विद्यालयबाट आएका छन् । भूकम्प जानुअघि उक्त विद्यालयमा ७१ ज्ना मात्र विद्यार्थी अध्ययनरत रहेकामा अहिले बढेर पाँच सय ९१ पुगेको छ । गोर्खा भूकम्पकले पूर्णरूपमा क्षति भएकोे यस विद्यालयमा ३० शिक्षक कार्यरत छन् । “कुनै कक्षामा पनि विद्यार्थीको कमी छैन । विद्यार्थीको सङ्ख्या बढिरहेकाले ३६ सिट क्षमता भएको एउटा कक्षामा हामीले ४९ जनासम्म विद्यार्थी राखेर पढाइरेहका छौँ”, प्रधानाध्यापक पौडेलले भनन् ि। एउटा माध्यमिक विद्यालय सञ्चालन हुनाका लागि ग्रामीण क्षेत्रका प्रत्येक कक्षामा ४० र सहरमा ५५ विद्यार्थी रहनुपर्ने कानूनी व्यवस्था छ । ऐतिहासिक र पुरानो विद्यालय भएकाले सुरुको समयमा सम्पन्न परिवारका छोराछोरीले मात्र अध्ययन गर्ने गरेका थिए । कुनै समय श्रमिकका छोराछोरी मात्र पढ्ने गरेको यस विद्यालयमा अहिले सरकारी कर्मचारी तथा स्थानीयवासीका छोराछोरीको आकर्षण बढी छ । विद्यालय भवन ठूलो रहेको हुँदा सहयोगी कर्मचारी एकजना मात्रले सरसफाइको काम गर्न भने समस्या भएको बताइएको छ । त्यसैगरी विद्यार्थीको सङ्ख्याका आधारमा सम्बन्धित विषय शिक्षकको पनि अभाव रहेको प्रध्यानाध्यापक पौडेलले बताउनुभयो । यस विद्यालयमा निकट भविष्यमै ललितकला क्याम्पससँग सहकार्य गरेर ‘फाइन आर्ट’ कक्षा सञ्चालन गर्ने तयारी समेत रहेको छ । आठ वर्षअघिको भूकम्पपछि पुरानै स्वरूपमा पुनर्निर्माण गरिएको उक्त स्कुलको हाताभित्र हाल भानु माध्यमिक विद्यालय र संस्कृत माध्यमिक विद्यालय सञ्चालित रहेका छन् । नौ रोपनी जमिनमा निर्माण गरिएको चार तले सो विद्यालय भवनमा ४० कक्षा कोठा छन् । भूकम्पपछि चीन सरकारको पूर्ण सहयोगमा चिनियाँ कम्पनी साङ्घाई कन्स्ट्रक्सनले उक्त विद्यालय भवन निर्माण गरेको हो । भूकम्पपछि उक्त स्कुल पुनर्निर्माणको शिलान्यास विसं २०७५ साउन १८ गते गरिएको थियो । विसं २०७७ कात्तिक ५ गते तत्कालीन राष्ट्रप्रमुख विद्यादेवी भण्डारीले रानीपोखरी पुनःनिर्माणसँगै सो विद्यालय भवन उद्घाटन गर्नुभएपछि पुनःसञ्चालनमा आएको हो । विसं १९१० मा राणाका छोराछोरी पठनपाठन गराउन तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाका पालामा उक्त विद्यालय स्थापना भएको थियो । सुरुमा निर्माण गर्दा माटो, इँट्टा र सुर्की ९माटो र चुनबाट बनेको निर्माण सामग्री० को प्रयोग भए पनि अहिले आधुनिक निर्माण सामग्रीले बनेको छ । हाल कामपामा ८९ सामुदायिक विद्यालय सञ्चालित रहेकामा नमूना विद्यालयका रूपमा दरबार हाई स्कुलसहित अन्य दुई विद्यालय छन् । ती विद्यालयलाई अन्यभन्दा थप व्यवस्थित रूपमा सञ्चालन गर्न चालु आर्थिक वर्षमा रु एक करोड बजेट विनियोजन गरिएको काठमाडौँ महानगरपालिकाका शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले जानकारी दिए । यस विद्यालयमा हरेक दिन विद्यार्थीको सङ्ख्या बढिरहेकाले कामपाले आवश्यकअनुसार दरबन्दी थप गर्ने विषयमा पनि छलफल गरिरहेको प्रमुख प्रमुख सुवेदीले बताए ।