content
stringlengths
20
64.1k
नदी किनारका सुकुम्बासी बस्ती छ महिनाभित्र हटाउन सरकारलाई संसदीय समितिको निर्देशन काठमाडौं। प्रतिनिधिसभा, पूर्वाधार विकास समितिको बैठकले नदी किनारका ससुकुम्वासी बस्ती छ महिनाभित्र हटाउन सरकारलाई निर्देशन दिएको छ । समितिको आजको बैठकमा वाग्मती सुधार आयोजनाका बारेमा छलफलपछि समितिको सभापतित्व गरेका ज्येष्ठ सदस्य लालवीर चौधरीले छ महिनाभित्र काठमाडौँ उपत्यकाभित्रका वाग्मती, रुद्रमती, विष्णुमती, मनोहरालगायत नदी किनारका सुकुम्वासी बस्ती हटाउन सरकारलाई निर्देशन दिएका हुन्। समितिले काठमाडौँ उपत्यकाका १८ नगरपालिकाबाट घरजग्गा पासबापत वाग्मती सभ्यता करका नाममा उठाइएको ०.५ प्रतिशत रकम अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको कोषमा जाने व्यवस्था मिलाउन पनि सरकारलाई निर्देशन दिएको छ । बैठकमा सहरी विकास मन्त्री सीता गुरुङले पशुपति क्षेत्रसम्मको वाग्मती सफा गर्ने जिम्मेवारी अधिकार सम्पन्न वाग्मतीको कि पशुपति क्षेत्र विकास कोषको भन्ने द्विविधा भइरहेकाले एकीकृत रुपमा काम गर्ने गरी एकै संस्थालाई जिम्मेवारी दिनुपर्ने बताइन्। गुरुयोजना बनाएर वाग्मती सुधारमा काम गर्ने प्रतिबद्धता जनाउँदै उनले अव्यवस्थित बसोवासी हटाउन सरोकार भएका सबै निकायको सहयोग हुनुपर्नेमा जोड दिइन् । “अव्यवस्थित बसोवासीलाई राख्न इचङ्गुनारायणमा दुई सय ३० परिवार बस्न सक्ने गरी पाँच वटा भवन बनाइएको छ, त्यहाँ लगेर स्थापित गरिनुपर्छ, नदी किनारका अव्यवस्थित बसोवासीलाई हटाउने विषय सरकारको नीति तथा कार्यक्रममा पनि उल्लेख गरिएकाले अब यसलाई कार्यान्वयन हुन्छ”–मन्त्री गुरुङले भनिन् । सांसद प्रदीप पौडेलले काठमाडौँ उपत्यकाका सामाखुसी, सपनतीर्थ, इच्छुमती सबै ढल बगाउने ठाउँ बनेकाले नदीका रुपमा स्थापित गर्न काम गरिनुपर्ने बताए । अधिकार सम्पन्न वाग्मतीलाई काठमाडौँ उपत्यकाका सबै नदीको जिम्मेवारी दिनेगरी वैधानिक व्यवस्था गर्न उनले माग गरे । सांसद ठाकुर गैरेले ऐन र पैसा नभइ गठन आदेशका भरमा चलाइने संस्थाको नामको अघि अधिकार सम्पन्न राखिनुको अर्थ नहुने बताए । २९ वर्षमा रु १४ अर्ब के केमा खर्च भयो भनी देखाउनुपर्ने उनको भनाइ थियो । बैठकमा सांसदहरु डा चन्द्रकान्त राउत, प्रेमबहादुर महर्जन, बिना लामा, निशा डाँगी, निर्मला कोइराला, दीपकबहादुर सिंह, शङ्कर भण्डारीलगायतले २९ वर्ष आयोजनाले काम गर्दा पनि वाग्मती सफा हुन नसकेको भन्दै आयोजनाका काम पारदर्शी हुनुपर्नेमा जोड दिए। सहरी विकास मन्त्रालयका सचिव रवीन्द्र श्रेष्ठले काठमाडौँ उपत्यकाका नदी किनारमा रहेका सुकुम्वासीमध्ये २० प्रतिशत मात्र वास्तविक रहेको बताए । हिउँदमा वाग्मती सफाइका लागि नदीका बहाव छोड्न बनाइएको धाप ड्यामको पानी खानेपानीका लागि प्रयोग गर्न माग भएको भनाइ उनले राखे । अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिनाले काठमाडौँ उपत्यकामा विच्छ्याइएको ढल पुरानो भई जुनसुकै बेला समस्या आउन सक्ने भएकाले सरोकार भएका निकायको ध्यान जानुपर्ने बताए । समितिका आयोजना प्रमुख रवीन्द्र बोहराले गुह्येश्वरीमाथिको नदी किनारमा नदीको क्षेत्र मिची बनेका २७ वटा घरटहरा भत्काइएको जानकारी गराए । नदी किनारको जग्गा कब्जा गरी बसेकामध्ये ८० प्रतिशत नक्कली भएको पनि उनले बताए । –––
४५ हजार घुससहित एक इन्जिनियर पक्राउ काठमाडौं । ४५ हजार घुस रकमसहित एक इन्जिनियर पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले इन्जिनियर अरविन्द कुमार यादवलाई घुससहित पक्राउ गरेको हो। रुपन्देहीको टोटहिमाई गाउँपालिका–७ को सडकको पिसिसि र ग्राभेलको नाप जाँचको भुक्तानी प्रयोजनका लागि इन्जिनियर यादवले ४५ हजार घुस लिएको भन्ने सूचनाका आधारमा खटिएको टोलीले यादवलाई पक्राउ गरेको आयोगले जनाएको छ । यादवबारे थप अनुसन्धान भइरहेको आयोगको भनाई छ ।
अब सवारी चालक अनुमतिपत्रको आवेदन र नवीकरण राजश्व अनलाइनबाटै काठमाडौं। सवारी चालक अनुमतिपत्रको अनलाईन भुक्तानी सहित विद्युतीय माध्यमबाट सेवा प्रणालीको शुभारम्भ भएको छ। बुधबार सिंहदरबारमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले नयाँ सुविधायुक्त सवारी चालक अनुमतिपत्रको अनलाईन प्रणालीको शुभारम्भ गरेका हुन् । नयाँ प्रणालीलाई कास्कीबाट सुरु गरिसकेको र एक महिनाभित्र देशका सवै कार्यालयबाट अनलाईन प्रणालीबाट काम हुने भौतिक पूर्वाधार तथा यातायत व्यवस्थामन्त्री प्रकाश ज्वालाले जानकारी दिए। नयाँ अनलाईन सेवा मार्फत राजस्व भुक्तानीका साथै स्वास्थ्य परिक्षणका सेवा पनि उपलव्ध हुने उनले बताए । सवारी चालक अनुमतिपत्र लिन लामो लाईन लाग्नुपर्ने बाध्यतालाई अन्त्य गर्न पनि अनलाइन सेवाको शुभारम्भ गरिएको मन्त्री ज्वालाले बताए । उनले यसको कार्यान्वयनमा सक्रिय रुपमा लाग्ने र यसलाई प्रभावकारी रुप्मा अघि बढाउने जानकारी दिए । सेवाग्राहीले सहज रुपमा सेवा प्राप्त गर्ने लक्ष्यका साथ अन्य बिभिन्न निकायमा पनि अनलाईन प्रणाली लागू गर्दै जाने उनको भनाइ छ। नयाँ व्यवस्थासंगै बायोमेट्रिक र परिक्षा दिन मात्रै यातायात कार्यालय जानुपर्ने मन्त्रालयले जनाएको छ ।
प्लाष्टिकका भाँडाको प्रयोगले हराउँदै परम्परागत दुनाटपरी लमजुङ। मौलिक रैथाने परम्परागतका दुनाटपरीको प्रयोग हुन छाडेसँगै लमजुङमा दुनाटपरी लोप हुन थालेको छ । बजारमा प्लास्टिकका थाल र पिलेटको प्रयोग बढ्न थालेकाले परम्परागतका दुनाटपरीको प्रयोग हट्दै गएको हो । प्लास्टिकबाट बनेका थालरपिलेट प्रयोग गर्न सजिलो हुने, नयाँ पुस्तामा दुनाटपरी लगाउने सिपको कमी र दुनाटपरीप्रतिको बेवास्थाका कारण यसको प्रयोग हराउँदै गएको हो । विगतमा नेपाली समाजमा पूजाआजा, विवाह, व्रतबन्ध, श्राद्धलगायत शुभकार्यमा सालको पातको दुनाटपरीको प्रयोग गर्ने प्रचलन थियो । स्थानीय ९६ वर्षीय वृद्वा चिजकुमारी श्रेष्ठले पछिल्लो समयमा प्लास्टिकका भाँडाको प्रयोग बढेसँगै लमजुङका सहरबजारमा मात्र नभइ गाउँघरबाटै दुनाटपरी हराउँदै जाँदा चिन्ता लागेको बताइन्। “गाउँघरमा केही सानो पूजा हुँदासमेत सालको पात चोखो हुन्छ भन्दै दुनाटपरी बनाएर प्रयोग हुन्थ्यो । गाउँघरमा सामूहिक रुपमा दुनाटपरी सिलाउँथ्ये । अहिले प्लास्टिकको भाँडाले गाउँघर ओगट्दा परम्परागत टुनाटपरीको प्रयोग हराउदै गएको छ”, दोर्दी गाउँपालिका–३ श्रीमञ्जाङका ७८ वर्षीय बुद्विमान श्रेष्ठले भने। युवा पुस्तामा सिपको कमीका साथै चासो नदिँदा विस्तारै दुना टपरी हराउँदै गएको उनको भनाइ थियो । बेँसीसहर नगरपालिका वडा नं। ८ का ५३ वर्षीय दालमाया श्रेष्ठले सालको पातको दुना–टपरी शुद्धताको प्रतिक भएको बताइन्। “सालको पातबाट बनेका दुनाटपरी कहिले पनि जुठो हुँदैन । यसको धार्मिक महत्व पनि छ”, उनले भनिन्। पहिला आजपूजामा जताततै सालको टपरी प्रयोग गरेको देखिए पनि केही वर्षयता प्लास्टिकका भाँडाको प्रयोग बढ्दै गएको उनको भनाइ थियो । राइनास नगरपालिका–८ स्थित हर्राबोटकी ७२ वर्षीय लालमायाँ श्रेष्ठले भनिन्, “पहिला–पहिला सालको पात टिपेर ल्याइ बाँसको सिन्काले दुनाटपरी गाँसिन्थ्यो । पूजाआजामा प्रसाद यसैमा राखि खाईन्थ्यो, बाँडिन्थ्यो । सहरबजारमा समेत टुनाटपरीको प्रयोग बढ्दो थियो ।” गाउँबाट टुनाटपरी बनाएर सहरका विभिन्न स्थानमा पुर्‍याउने गरिएको उनले बताइन्। अहिले आफू नसक्ने र युवा पुस्ताको बेवास्ताका कारण पातका दुनाटपरीको सट्टा प्लास्टिकका भाँडा नै प्रयोग गर्नु परेको श्रेष्ठले गुनासो गरिन् सालको पातको दुनाटपरी बुन्न समय लाग्ने भएकाले पनि छिटो, छरितोका लागि प्लास्टिकका भाँडाको प्रयोग बढ्दै गएको उनको भनाइ थियो । प्लाष्टिकका भाँडाले परम्परागत दुनाटपरीलाई विस्थापित गर्न थालेपछि दुनाटपरी प्रयोग गर्ने परम्परा हराउँदै गएको दुनाटपरी व्यवसाय गर्दै आएका बेँसीसहर नगरपालिका–७ का दिलिप श्रेष्ठले बताए। उनले भने, “केही वर्षपहिलेसम्म पसलमा दुनाटपरी खोज्न आउने गरेकामा अहिले प्याष्टिकबाट बनेको थाल र पिलेटको माग गर्ने भएको पसलमा दुनाटपरी राख्न छाडेको छु ।” सालको पातको टपरी बनाउन समय लाग्ने र टपरी बनाउन सिप पनि आवश्यक पर्ने स्थानीय बताउँछन् । दुनाटपरी बनाउन युवा पुस्ताले बेवास्ता गरेसँगै परम्परागत दुनाटपरी लोप हुँदै गएकामा वृद्धवृद्धा चिन्तित छन् । नेपाली समाजले आधुनिकता र विदेशीको नक्कल गर्न थालेकाले परम्परागत वस्तुसँगै दुनाटपरी पनि हराउँदै गएको समाजका वृद्विजिवीको भनाइ छ ।
दुई हजारभन्दा बढी सवारी चालक कारबाहीमा काठमाडौँ। काठमाडौँका विभिन्न ठाउँमा नियम उल्लङ्न गरेको आरोपमा ट्राफिक प्रहरीले दुई हजारभन्दा बढी सवारी चालकलाई कारबाही गरेको छ। पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाभित्र ट्राफिक नियम उल्लङ्न गर्ने दुई हजार दुई सय तीन सवारीसाधन र चालक कारबाहीमा परेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए। उनका अनुसार मापसेमा ६९, लेन उल्लङ्नमा एक सय २०, रेड लाइट प्रवेशमा ७३, चर्को हर्नमा २८ सवारी चालक कारबाहीमा परेका छन्। यसैगरी प्रष्ट देख्ने नम्बर प्लेट नराख्नेमा २१, उच्च गतीमा सवारी चलाउनेलाई एक सय ४७ र अन्य एक हजार सात सय ४५ गरी कुल दुई हजार दुई सय तीन सवारी चालकलाई कारबाही गरिएको छ।
श्रीमतीको हत्या आराेपमा श्रीमान पक्राउ सप्तरी। आफ्नै श्रीमतीको ३२ वर्षीया किरण कुमारी चौधरीको हत्या गरेको अभियोगमा सम्भुनाथ नगरपालिका-५ मोहनपुर बस्ने ईनरदेव चौधरीलाई प्रहरीले पक्राउ गरेको छ। खाना खाई आफ्नो कोठामा सुतेकी किरण कुमारी बेहोस अवस्थामा फेला परेको र तत्काल उपचारको लागि कठौनास्थित कृष्ण अस्पतालमा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनसाथ प्रहरी चौकी कठौना र ईलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरीले ईनरदेवलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उनको संलग्नता रहेको खुल्न आएको थियो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ।
वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या बढ्दै काठमाडौं। पछिल्लो समय वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिने नेपालीहरुको सङ्ख्या बढ्दै गएको छ । वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षको असार १६ गतेसम्म वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको सङ्ख्या करिब सात लाख ४० हजार रहेको छ । उक्त सङ्ख्या दिनैपिच्छे बढ्दै गएको विभागले जनाएको हो । अघिल्लो आर्थिक वर्षमा झन्डै छ लाख ३० हजार जनाले नेपालबाट वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका थिए । विभागले आर्थिक वर्ष २०५०/५१ यता वैदेशिक रोजगारीमा जानेको तथ्याङ्क अद्यावधिक गर्दै आएकामा चालु आर्थिक वर्षमा यसरी श्रम स्वीकृति लिनेको सङ्ख्या बढ्दो देखिएको जनाएको हो । नेपालबाट वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको सङ्ख्याले नयाँ रेकर्ड बनाएको बताइएको छ । चालु आर्थिक वर्षको ११ महिनामा झन्डै साढे सात लाख जनाले श्रम स्वीकृति लिएका हुन् । वैदेशिक रोजगारीका लागि नेपालीहरु सबैभन्दा धेरै मलेसिया तथा खाडी मुलुक जाने गरेका र चालु आर्थिक वर्षको असार १६ गतेसम्म वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको सङ्ख्या सात लाख ४० हजार पुगेको वैदेशिक रोजगार विभागका सूचना अधिकारी तथा निर्देशक गुरुदत्त सुवेदीले जानकारी दिए। उनका अनुसार पछिल्लो समय युरोप जानेको सङ्ख्या पनि बढ्दो रहेको र वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर क्रोएसिया, साइप्रस, फ्रान्स, पोल्यान्ड, रोमानियाजस्ता युरोपेली मुलुकमा नेपालीहरु जाने गरेका छन् । श्रम स्वीकृति लिएर प्रत्येक महिना कम्तीमा पनि ६० हजारभन्दा बढी युवाहरु वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा पुग्ने गरेको निर्देशक सुवेदीले बताए। उनका अनुसार गएको फागुनमा वैदेशिक रोजगारमा ६१ हजार आठ सय ४५ जना गएको देखिन्छ । यसमध्ये युरोप जानेको सङ्ख्या धेरै छ । चैतमा वैदेशिक रोजगारीका लागि ६१ हजार चार सय ७८ युवाले श्रम स्वीकृति लिएका थिए । यो नयाँ तथा पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या हो । गत वैशाख महिनामा ५४ हजारभन्दा बढी युवा बाहिरिएका थिए । वैशाखमा विश्वका ९० वटा देशमा ५४ हजार चार सय ५७ जना रोजगारीका लागि गएको विभागको तथ्याङ्कमा उल्लेख छ । असार महिना पुनः श्रम स्वीकृति लिएर २१ हजार १७ जना विदेशिएका छन् भने ३३ हजार चार सय ४० जनाले नयाँ श्रम स्वीकृति लिएर विदेशिएका छन् । विदेशिनेमा ४९ हजार पाँच सय नौ पुरुष र चार हजार नौ सय ४८ महिला छन् । पछिल्लो समय नेपाली युवाको आकर्षण बढ्दै गइरहेकाले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित, नियमित र मर्यादित बनाउने योजना पनि सरकारले अघि सारेको विभागको भनाइ छ । यस्तै सीपयुक्त जनशक्ति विकास गरी रोजगारी र स्वरोजगार वृद्धि गर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको योजना रहेको छ । आन्तरिक रोजगारी पनि प्रवद्र्धन गरी उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्ने लक्ष्य लिइएको मन्त्रालयले जनाएको छ । यसैगरी गएको दुई महिनामा नेपालमा काम गर्न झन्डै एक हजार चार सय विदेशी नागरिकले श्रम स्वीकृति लिएका श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका निमित्त महानिर्देशक मणिनाथ गोपले जानकारी दिनुभयो । उहाँका अनुसार गएको वैशाख महिनामा नौ सय ७४ र जेठ महिनामा चार सय २२ जना गरी दुई महिनाको अवधिमा नेपालमा काम गर्नका लागि एक हजार तीन सय ९६विदेशी नागरिकले नयाँ श्रम स्वीकृति लिएका थिए । यस्तै गएको वैशाख र जेठ महिनामा चार सय ५८ विदेशी नागरिकले श्रम स्वीकृति नवीकरण गराएका थिए ।
जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ काठमाडौँ। काठमाडौं र झापाबाट प्रहरीले जुवातास खेलिरहेको अवस्थामा १२ जनालाई पक्राउ गरेको छ। काठमाडौं, कीर्तिपुर नगरपालिका-८ पाँगा चारघरे बस्ने ४५ वर्षीय जयगणेश महर्जनको टहरामा जुवातास खेलिरहेको अवस्थामा मकवानपुर हेटौंडा उपमहानगरपालिका-७ घर भई काठमाडौं कीर्तिपुर नगरपालिका-५ भत्केकोपाटी बस्ने ४२ वर्षीय रामशरण बोम्जन समेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १७ हजार ९ सय ३५ रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । झापा, दमक नगरपालिका-४ पारिजात टोल बस्ने शेर बहादुर राईको घरमा जुवातास खेलिरहेको अवस्थामा राई समेत ७ जनालाई मगलबार राति प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४७ हजार रूपैयाँ र कौडा १६ थानसहित पक्राउ गरेको हो। दुबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
चट्याङ लागेर एकको मृत्यु, दुई घाइते झापा। गौरीगञ्ज गाउँपालिका–६ मा आज बिहान चट्याङ लागेर एक किशोरको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। मृत्यु हुनेमा गौरीगञ्ज गाउँपालिका–६ स्थित खजुरगाछीका १५ विजय सरदार रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। खेतमा काम गर्न जाने क्रममा पानीसँगै परेको चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र रिजालले बताए। घटनामा भारतको फुलाबारी घर भई हाल सोही वडामा बस्दै आएका २० वर्षीय शिकन्दर आलाम र १६ वर्षीय मनिजुर आलाम घाइते भएका छन्। घाइतेलाई उपचारका लागि गौरादहस्थित मेडिम्याक्स अस्पताल पठाइएको उनले जानकारी दिए।
स्प्यारो एसएमएस र राष्ट्रिय परीक्षा बोर्डबीच सहकार्य काठमाडौँ। स्प्यारो एसएमएस, नेपालको अग्रणी SMS सेवा प्रदायक हो, २०७९/८० को SEE नतिजाका लागि एसएमएस आधारित नतिजा सेवा सुरु गर्न नेपाल परीक्षा बोर्डसँगको सहकार्यको घोषणा गर्न पाउँदा गर्व छ। यस सेवाले विद्यार्थी र उनीहरूका अभिभावकहरूलाई उनीहरूको SEE नतिजाहरू छिटो र सजिलै पहुँच गर्नको लागि सुविधाजनक र झन्झटमुक्त विधि प्रदान गर्ने लक्ष्य राखेको छ। विगत ११ वर्षदेखि, स्प्यारो एसएमएस नेपालमा भरपर्दो र प्रभावकारी एसएमएस सेवाहरू प्रदान गर्न अगाडि रहेको छ। यस प्रविधिसँगै, विद्यार्थीहरूले अब सजिलै ३५००१ मा एसएमएस पठाएर उनीहरूको SEE नतिजाहरू जाँच गर्न सक्छन्। विद्यार्थीहरूले “SEE” टाइप गरेर स्पेस र आफ्नो सिम्बोल नम्बर टाइप गरेर ३५००१ मा पठाउनु पर्छ। केही क्षणमा, उनीहरुले आफ्नो नतिजा सिधै आफ्नो मोबाइलमा एसएमएस मार्फत प्राप्त गर्नेछन्। यो एसएमएस-आधारित नतिजा हेर्न प्रविधि विद्यार्थी र उनीहरूका अभिभावकहरूका लागि परीक्षा केन्द्रहरू जानु पर्ने वा जटिल अनलाइन पोर्टलहरू हेर्न आवश्यकतालाई हटाएर प्रक्रियालाई सरल बनाउन डिजाइन गरिएको हो। “हामी नेपाल परीक्षा बोर्डसँग यो SMS आधारित नतिजा जाँच गर्ने प्रविधि नेपालभरका विद्यार्थीहरूका लागि उपलब्ध गराउन पाउँदा खुसी छौं,” स्प्यारो एसएमएसका सीईओ श्री मनोज थापाले भने। “हामीले नतिजा घोषणाको क्रममा विद्यार्थीहरू र उनीहरूका अभिभावकहरूले अनुभव गरेको प्रत्याशा र चिन्ता बुझ्दछौं। हाम्रो उद्देश्य एक सहज र पहुँचयोग्य समाधान प्रदान गर्नु हो जसले विद्यार्थीहरूलाई कुनै झन्झट बिना, तुरुन्तै उनीहरूको SEE नतिजा प्राप्त गर्न सशक्त बनाउँछ।” मोबाइल फोनको व्यापक प्रयोगको फाइदा उठाउँदै, यो एसएमएस-आधारित नतिजा प्राप्त गर्न प्रविधिले देशका सबै कुनाका विद्यार्थीहरूले उनीहरूको भौगोलिक स्थान वा इन्टरनेट जडानको बाबजुद सजिलैसँग उनीहरूको SEE नतिजा हेर्न सक्छन् भन्ने कुरा सुनिश्चित गर्दछ। SEE (SLC) को नतिजा २०७९/२०८० SMS मार्फत कसरी हेर्ने ? आफ्नो मोबाइल सन्देश बक्समा जानुहोस् नयाँ सन्देश लेख्नुहोस् टाइप गर्नुहोस् SEE र तपाईंको सिम्बोल नम्बर “३५००१ ” मा एसएमएस पठाउनुहोस् स्प्यारो एसएमएसले विद्यार्थी र अभिभावकहरूलाई एसएमएस आधारित SEE को नतिजा हेर्न सेवा भरपर्दो, सुरक्षित रहेको बिश्वास दिलाउछ र ढुक्क भइ यस प्रबिधी को प्रयोग गर्न आहावान गर्दछ। यस प्रविधिको बारेमा थप जानकारीको लागि, कृपया Sparrowsms.com वेबसाइटमा जानुहोस् वा [email protected] मा सम्पर्क गर्नुहोस्।
पानीबिना छटपटाएका किसानलाई असारे झरीले राहत महोत्तरी। पानीबिना छटपटाएका महोत्तरीका किसानले बल्ल असारे झरीको महसुस गरेका छन् । असार तेस्रो साता बित्नैलाग्दा बल्ल गए राति झमझम परेको पानीले यहाँका बासिन्दालाई असारे झरीको महसुस गराएको छ । मटिहानीका अजिज राइनले भने, “पानीले बल्ल माटो गलाएको छ ।” पानी परेपछि अब धानखेतीलाई मद्दत पुग्ने उनको भनाइ छ । ब्याडमै सुक्दै गएको बीउ अब यो पानीले जाग्ने र एक÷दुई दिनभित्रै रोपाइँ थाल्ने राइन बताउँछन्। भङ्गाहा–४ का ७० वर्षीय जब्बार शेष भन्छन्, “अपुग हुने बीउ राखिहाल्दा हुन्छ, पानीले साथ दिइराख्यो भने १५ दिनमा रोप्न मिल्छ ।” साउन मध्यअघि बीउ रोपे धान उत्पादन राम्रै हुने उनले बताए। अधिकांश जग्गा आकाशे पानीकै भरमा गरिनुपर्दा यसपालि किसानले दुईतिहाइ भागमा धान रोपाइँ गर्न पाएका छैनन् । पानी नपर्दा धानको बीउ ब्याडमै सुक्दै गएको थियो । अब भने यसअघि राखिएको बीउ पानीले फेरिने र रोपाइँ थाल्न पाइने किसान बताउँछन् । ढिलो पानी परेको हुँदा बीउ अपुग हुनसक्ने कुरामा अहिले नै अड्कल गरेर काम गरिँदा अबका २० दिनमा धानको शाही रोप (बीउरोप) सकिने र भदौ पहिलो सातासम्म खरुअन (रोपिएको बीउरोपको धान गाँजिएपछि त्यो उखेलेर दोस्रोपटक रोपिने) रोप्न मिल्ने अवस्था छ । जिल्लामा कुल खेतीयोग्य जग्गा ७१ हजार हेक्टरमध्ये करिब ५० हजार हेक्टर धानखेती गर्न सकिन्छ । यसमध्ये १० प्रतिशतमात्र सिञ्चित (कुलो, नहर लाग्ने) हुँदा बाँकीमा आकाशे पानीकै भर पर्नुपर्छ। धानखेतीका लागि जेठ मध्यसम्म बीउ राखिसक्ने(बीउ ब्याडमा राख्ने, छर्ने) असार मध्यभित्र बीउ रोप सक्ने र साउन मध्यअघि खरुअन रोपिसकिनुपर्ने किसानको परम्परागत तालिका छ । यसपालि पानी नपर्दा यो तालिका खजमजिएपछि धान रोपाइँमा ढिलाइ हुँदै गएको हो ।
दोहरो नागरिकताको अभियोगमा दुईजना पक्राउ कञ्चनपुर। कञ्चनपुरमा दोहरो नागरिकता लिएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बैतडीको पञ्चेश्वर गाउँपालिका–५ का ३९ वर्षीया कलावती चन्द र ५८ वर्षीय गम्भीर चन्द रहेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीका अनुसार दुवै जनाविरुद्ध दोहोरो नागरिकतासम्बन्धी जाहेरी दर्ता भएपछि उनीहरुलाई पक्राउ गरिएको हो। कञ्चनपुर जिल्ला अदालतबाट म्याद थप गरी उनीहरुमाथि अनुसन्धान अघि बढाइएको छ।
नेपाल आइपुग्यो २० हजार भाइल एचपीभी खोप काठमाडौं। पाठेघर मुखको क्यान्सरविरुद्ध लगाइने एचपीभी खोप नेपाल आइपुगेको छ। नेपालले खरिद गरेको २० हजार भाइल एचपीभी खोप मंगलबार नेपाल आइपुगेको स्वास्थ्य सेवा विभागको खरिद शाखा प्रमुख डा. सुरेन्द्र चौरासियाले जानकारी दिएका छन्। सरकारले पहिलो पटक खरिद गरेको उक्त खोप ९ देखि १४ वर्षका उमेर समूहका किशोरीलाई दिइने उनको भनाइ छ। अहिले पाइलट प्रोजेटको रूपमा खोप लगाइने भएकाले कहाँ–कसरी लगाउने भन्ने बिषयमा छलफल भइरहेको उनले बताए। महिलामा हुने पाठेघरको मुखको क्यान्सरलाई न्यूनीकरण गर्नका लागि पहिलो पटक एचपीभी विरुद्धको खोप लगाउन लागिएको हो।  एक नयाँ अध्ययनका अनुसार एचपीभी खोपले ९० प्रतिशतसम्म पाठेघरको मुखको क्यान्सरको जोखिम घटाउँछ ।
आजको मौसमः मुलुकभर भारी वर्षाकाे संभावना काठमाडाैं। हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ। राति भने देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ। देशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। मधेश प्रदेश र लुम्बिनी प्रदेशको तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ। त्यसैले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने देखिन्छ। तसर्थ भारी वर्षा, मेघ-गर्जन / चट्याङ, गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ।
मनोरञ्जन शुल्क डिजिटल प्रणालीमा ल्याउन काठमाडौं महानगरको निर्देशन काठमाडौं। महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेका चलचित्र भवनलाई मनोरञ्जन शुल्क समावेश गरेर ३० दिनभित्र डिजिटल प्रणालीमा ल्याउन निर्देशनसहित पत्राचार गरेको छ । महानगरभित्र रहेका १७ चलचित्र भवनलाई मनोरञ्जन करका करदाताले डिजिटल प्रणालीबाट प्रवेश शुल्क सङ्कलन गरेको भए तीन दिनभित्र त्यसमा पहुँच दिन र डिजिटल प्रणालीमा कर सञ्चालन नगरेकाले भने पत्र प्राप्त भएको मितिले ३० दिनभित्र प्रवेश शुल्क डिजिटल प्रणालीमा ल्याई उक्त प्रणालीमा राजस्व विभागलाई पहुँच दिलाउन भनिएको छ । डिजिटल प्रणालीबाट बिक्री गरिने टिकटको युजर आइडी र पासवर्ड मागिएको महानगरका सहायक प्रवक्ता दीपक अधिकारीले जानकारी दिए। उनले भने, “कर कति उठ्यो भन्ने पारदर्शिताका लागि महानगरले प्रक्रिया अगाडि बढाएको हो । डिजिटल प्रणालीमा नगएका हललाई एक महिनाभित्र जान र उक्त प्रणालीमा पहुँच प्रदान गर्न भनेका छौँ ।” चलचित्र भवनमा प्रवेश शुल्कबापत बिक्री हुने टिकटमा पाँच प्रतिशत मनोरञ्जन कर राखिएको हुन्छ ।
१९० किलो गाँजासहित हेटौंडाबाट १२ जना पक्राउ हेटौंडा । मकवानपुर प्रहरीले १ सय ९० किलो गाँजासहित १२ जना पक्राउ गरेको छ । प्रहरीले १४४ किलो गाँजासहित ६ जना र अरु ४७ किलो गाँजासहित थप ६ जनालाई  गरी १२ जनालाई पक्राउ गरेको हो । प्रहरीले सवारी जाँचको क्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५, रातोमाटेबाट छुट्टाछुट्टै सवारी साधनबाट १९० किलो गाँजासहित त्यसमा संलग्नलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । चितवनबाट वीरगंजतर्फ जाँदै गरेको बागमती प्रदेश–०१–०२५ च ३३८४ नम्बरको कार र प्र २–०३–००७ प ४७५४ नम्बरको मोटरसाइकललाई शंका लागि सुरक्षा जाँच गर्दा रातोमाटे चेकपोष्टमा ४७ किलो गाँजा फेला परेको हो । पक्राउ पर्नेमा कारमा सवार पर्सा जिल्ला वीरगंज महानगरपालिका-१४ का ४२ वर्षीय कन्हैयालाल महतो, २६ वर्षीय बिनोद मण्डल, बीरगंज–१८ का २० वर्षीया दुसमेना खातुन र २१ वर्षीया पुजा कुमारी मण्डल र मोटरसाइकलमा सवार पर्सा जिल्लाको पटेरवा सुगौली गाउँपालिका–४ का २५ वर्षीय विनय चौधरी र पर्सा जिल्लाको बीरगंज महानगरपालिका-१४ का ३९ वर्षीय विनोद पासवान रहेको प्रहरीको भनाइ छ । त्यस्तै, डीएल १ जीसी ३०३५ नम्बरको ईण्डियन ट्रक चालक देश भारतको मोतिहारी जिल्ला गोबिन्द बारा बस्ने ६५ वर्षीय लालबहादुर सहनी, डीएल १२ सीए ०५७८ नम्बरको स्कारपियोमा सवार पर्साको वीरगंज महानगरपालिका–१३ बस्ने २५ वर्षीय सन्तोस गुप्ता, बाराको विश्रामपुर गाउँपालिका वडा नम्वर–४ बस्ने २४ वर्षीय सुरज साह, २१ वर्षीय गौतम कुमार साह, पर्साको छिपहरमाई गाउँपालिका–३ बस्ने ३१ वर्षीय मोहमद नवसाद हुसेन र २८ वर्षीय रमेश यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सरकारले छ लाख १५ हजार परिवारलाई गर्‍यो गरिब परिचयपत्र वितरण काठमाडौं। सरकारले छ लाख १५ हजार एक सय ६१ घरपरिवारलाई गरिब परिचयपत्र वितरण गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रलायले विभिन्न ४९ जिल्लामा गरिब पहिचान गरी परिचयपत्र वितरण गरेको हो । सरकारले उनीहरूको आय तथा व्ययको स्रोत, घरको अवस्था, जीवनशैली, शिक्षाको अवस्थालगायतको सूचकाङ्क अध्ययन गरी अतिगरिब, मध्यम गरिब र सामान्य गरिबका रूपमा वर्गीकरण गरेर पहिचान गरेको छ । वार्षिक प्रतिव्यक्ति रु २२ हजार नौ सय १९ खर्च गर्न नसक्नेलाई गरिब मानिएको छ । तीनै तहका सरकारले गरिब लक्षित कार्यक्रम सञ्चालन गर्दा उनीहरूलाई सेवा तथा सुविधा उपलब्ध गराउँदा परिचयपत्रका आधारमा प्रदान गर्ने गरिब पहिचान तथा मापदण्ड शाखाका प्रमुख झविन्द्र पाण्डेले जानकारी दिए। सङ्घीय, प्रादेशिक र स्थानीय तहका सरकारले आफ्नो क्षमताअनुसार उनीहरूलाई सहुलियत प्रदान गर्नेछन् । सरकारले उनीहरूलाई शिक्षामा छात्रवृत्ति, निःशुल्क स्वास्थ्य बिमाका साथै गरिबी न्यूनीकरणका परियोजनामा प्राथमिकता दिएको छ । विसं २०७० मा गरिब पहिचानको कार्यक्रम सुरु गरिएकामा सुरुमा २६ जिल्ला र २३ जिल्लाका गरिब पहिचान गरिएको थियो । बाँकी २८ जिल्लामा पहिचानका कार्य सकिएकाले आगामी वर्षमा परिचयपत्र वितरण सम्पन्न गरिने छ । पहिचान तथा परिचयपत्र वितरण कार्यका लागि सरकारले अहिलेसम्म रु एक अर्ब करिब ५३ करोड खर्च गरिसकेको जनाइएको छ ।
सिद्धार्थ राजमार्गमा सवारी आवागमन प्रभावित पाल्पा। अविरल बर्षाको कारण पाल्पाको तानसेन नगरपालिका–८ डुम्रे नजिकै सिद्धार्थ राजमार्गमा पहिरो खसेर सवारी आवागमन प्रभावित भएको छ। मंगलबार मध्यान्ह १२ बजे खसेको पहिरोका कारण डुम्रे हुँदै बुटवलतर्फ आउँने जाने सवारी साधन प्रभावित भएका हुन्। पहिरो हटाइ सडक खुलाउने प्रयास भइरहेको प्रहरी चौकी प्रभासले जनाएको छ।
निर्माणाधीन धन्सार भत्किँदा एक महिलाको मृत्यु, तीन घाइते गोरखा। गोरखामा निर्माणाधीन धन्सार भत्किएर आज एक महिलाको मृत्यु भएको छ। भने, अन्य तीनजना घाइते भएका छन्। गण्डकी गाउँपालिका–४, पाटापाटीस्थित जगबहादुर बरामको बनाउँदै गरेको धन्सार भत्किएर उनकी श्रीमती ४१ वर्षीया मीना बरामको मत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए। धन्सार भत्किएर पुरिँदा उहाँकोे घटनास्थलमै मृत्यु भएको हो। उक्त घटनामा परी मृतक मीनाका श्रीमान ४५ वर्षीय जगतबहादुर बराम, २१ वर्षीय छोरा सुजन बराम र छिमेकी ६५ वर्षीय रामकृष्ण बराम घाइते भएका छन्। रामकृष्णको अवस्था गम्भीर भएकाले उनलाई थप उपचारका लागि काठमाडौँ पठाइएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए। अन्य दुईजनाको अवस्था भने सामान्य छ।
‘आठ वर्षमा साढे तीन लाख स्वास्थ्य जनशक्ति आवश्यक’ काठमाडाैं। चिकित्सा शिक्षा आयोगले आर्थिक वर्ष २०८७/८८ सम्ममा साढे दुई लाखभन्दा बढी स्वास्थ्य जनशक्ति आवश्यक हुने प्रक्षेपण गरेको छ। आयोगले आर्थिक वर्ष २०७७/७८ लाई आधार मानी गरेको अध्ययनमा उक्त प्रक्षेपण गरेको हो। आयोगका अनुसार सो अवधिभित्र सरकारी र निजी स्वास्थ्य संस्थामा महिला स्वास्थ्य स्वयम्सेविका र कार्यालय सहयोगीसहित तीन लाख ५८ हजार नौ सय ३८ स्वास्थ्य जनशक्ति आवश्यक पर्नेछ। आयोगले सो अवधिसम्म चिकित्सक र स्वास्थ्यकर्मी मात्रै दुई लाख ५७ हजार ९१ आवश्यक हुने निष्कर्ष निकालेको छ। आयोगका उपाध्यक्ष प्रा डा श्रीकृष्ण गिरीले हाल कार्यरत जनशक्ति सेवानिवृत्त हुने र विदेशिने सङ्ख्यालाई समेतका आधारमा जनशक्ति प्रक्षेपण गरिएको जानकारी दिए। “सरकारले निर्माण गरिरहेका आधारभूत स्वास्थ्य संस्थालाई समेत आधार मानी स्वास्थ्य जनशक्ति प्रक्षेपण गरिएको छ”, उनले भने। उनका अनुसार २०८८ सालसम्म स्वास्थ्य जनशक्तिको सङ्ख्या तीन दशमलव छ प्रतिशतले प्रक्षेपण गरिएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार प्रति एक हजारमा न्यूनतम चार दशमलव ४५ स्वास्थ्य जनशक्ति हुनु राम्रो मानिन्छ। आर्थिक वर्ष २०७७/७८ मा स्वास्थ्य संस्थामा दुई लाख ३४ हजार तीन सय ६१ जनशक्ति आवश्यक रहेकोमा ५६ हजार ५२ जना कम अर्थात एक लाख ७८ हजार तीन सय नौ मात्रै कार्यरत थिए। प्रतिवेदनमा आव २०७७/७८ सम्ममा सञ्चालित स्वास्थ्य संस्था, सरकारी, निजी तथा गैरसरकारी अस्पताल, मेडिकल कलेज, नर्सिड होम, क्लिनिक तथा शय्या सङ्ख्या प्रदान गरिने सेवाका लागि आवश्यक जनशक्तिको आँकलन गरिएको आयोगको भनाइ छ। विसं २०८८ सम्म एमबिबिएस १६ हजार सात सय ८४, विशेषज्ञ चिकित्सक कल्यन्ट्यान्ट (स्नातकोत्तर) १५ हजार चार सय ३५, नर्सिङ पेसाविद (स्नातकोत्तर) चार सय ११ आवश्यक हुने आयोगको प्रक्षेपण छ। नर्सिङ सहायक (स्नातक) तीन हजार तीन सय ५९, नसिङ तथा प्रसूतिसम्बन्धी सहायक (प्रमाणपत्र तह) ८८ हजार २४, परम्परागत तथा वैकल्पिक चिकित्सा (स्नातक तथा स्नातकोत्तर तह) दुई हजार ८३, परम्परागत तथा सहायक चिकित्सक प्राविधिक (प्रमाणपत्र तह) दुई हजार एक सय १८ जनशक्ति आवश्यक पर्नेछ। सो अवधिसम्म अन्य स्वास्थ्य सम्बद्ध पेसा (स्नातकोत्तर तह) दुई हजार छ सय ८८, अन्य स्वास्थ्य सम्बद्ध सहायक पेसा (स्नातक तह) २३ हजार एक सय ५०, अन्य स्वास्थ्य सम्बद्ध सहायक पेसा (प्रमाणपत्र तह) एक लाख चार हजार ३९ हजार उत्पादन हुनुपर्नेछ। त्यसैगरी सामुदायिक महिला स्वास्थ्य स्वयसेविका ५७ हजार ४३ जना र श्रेणीविहीन कार्यालय सहयोगी, सरसफाइ तथा सवारी चालक ४४ हजार आठ सय चारजना स्वास्थ्य जनशक्ति आवश्यक हुने आयोगको भनाइ छ। आयोगले विसं २०८३ सालमा दुई लाख ४५ हजार चार सय ६३ स्वास्थ्य जनशक्ति र ५४ हजार चार सय ६३ महिला स्वास्थ्य स्वयसेविका र ४२ हजार सात सय ७७ श्रेणीविहीन कार्यालय सहयोगी, सरसफाइ कर्मचारी र सवारी चालक आवश्यक हुने प्रतिवेदनमा उल्लेख गरेको छ। यसवर्ष चिकित्सकतर्फ स्नातक तहमा सात हजार छ सय ५९, स्नातकोत्तर तहमा एक हजार छ सय ८४ र स्नातकोत्तरभन्दामाथि एक सय नौ जनशक्ति उत्पादन हुने आयोगको भनाइ छ। यस्तै नर्सिङ, जनरल मेडिसिन, डेन्टल साइन्स, आयुर्वेशिक हेल्थ साइन्स, फिजियोथेरापी, फार्मसीलगायत ११ मध्यम तथा आधारभूत तहका विषयमा १२ हजार एक सय दुई स्वास्थ्यकर्मी उत्पादन हुनेछन्। नेपालमा सरकारले स्थानीय तहमा बनाउन थालेका आधारभूत अस्पतालसहित सात हजार आठ सय ८९ सरकारी र निजी दुई हजार दुई सय ५० गरी १० हजार एक सय ३९ स्वास्थ्य संस्था सञ्चालनमा छन्। रासस
प्रधानमन्त्रीले दिए ‘मेमोरी किङ’ शर्मालाई बधाई काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मेमोरी किङका रुपमा चर्चित अर्पण शर्मालाई बधाई तथा शुभकामना दिएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटमा प्रधानमन्त्री दाहालले शर्मालाई नेपालीको नाम विश्वमा राख्न सफल भएकोमा बधाई दिँदै आगामी दिनमा थप सफलताको शुभकामना दिए। शर्माले एक मिनटमा ८३ वस्तुको क्रम स्मरण गरेर विश्व कीर्तिमान काम गरेका हुन्। उनले त्यसको श्रेय आफ्नो ध्यान, साधना र ‘मेमोरी टेक्निक’लाई दिन्छन्। थप विश्व रेकर्ड कायम गर्ने अठोट गरेका शर्माले विद्यार्थीलाई पनि स्मरण शक्ति बढाउने तालिम दिँदै आएका छन्। स्मरण शक्तिको विधामा दोस्रो विश्व रेकर्ड कायम गर्नुभएका शर्माले छिट्टै तेस्रो रेकर्ड राख्ने तयारी गरेका छन्। शर्माले यसअघि सन् २०१५ मा एक मिनटमा ४२ वस्तुको क्रम स्मरण गरेर गिनिज बुकमा नाम लेखाएका थिए। शर्माले भने, “यो विश्व रेकर्डको प्रमाणपत्र मेरो मात्रै नभइ सम्पूर्ण नेपालीको भएको महसुस गर्दै आगामी दिनमा अझै वर्ल्ड रेकर्ड राखेर नेपालको नाम विश्व सामू फैलाउने योजना छ ।”रासस
वर्षाले निथ्रुक्क रूझेकाे काठमाडाैं (फाेटाेफिचर) काठमाडाैं। मुलुकमा जारी मनसुनी वायुको प्रभावले केही स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल काठमाडाैं उपत्यकासहित देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी र गण्डकी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ। आज रातिको समयमा पनि कोशी, मधेस प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।
तिनाउ नदीले खतराको तह पार गर्‍यो, उच्च सतर्कता अपनाउन आग्रह बुटवल। लगातारको वर्षाका कारण तिनाउ नदीमा आएको बाढीले पानीको सतह खतराको तह पार गरेको छ। सोमबार रातिदेखि रुपन्देही, पाल्पालगायत आसपासका जिल्लामा भीषण वर्षा भइरहेको छ। यसले तिनाउ नदीमा पानीको सतह बढेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले तिनाउ नदीले खतराको तह पार गरेको र जिल्लाका सबै स्थानीय सरकारलाई यसबारे सतर्क रहन आग्रह गरिएको बताए। आज बिहानैदेखि तिनाउले खतराको तह पार गरेको हो। बुटवलस्थित बाढी मापन केन्द्रका अनुसार तिनाउमा बिहान पानीको सतह सात दशमलव २२ मिटर पुगेको छ। महाशाखाका अनुसार जल सतह पाँच दशमलव दुई मिटरलाई सतर्कता तह मानिन्छ भने पाँच दशमलव छ मिटरलाई खतराको तह मानिन्छ। तिनाउ नदीको जल सतह छ दशमलव ८८ मिटर पुगेपछि तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। केन्द्रले बिहान ९ बजेसम्म जोखिम क्षेत्रका बासिन्दालाई सुरक्षित रहन अनुरोध गरेको छ। तिनाउ नदीले खतराको तह पार गरे पनि अहिलेसम्म मानवीय र भौतिक क्षति नभएको रुपन्देही प्रहरीले जनाएको छ। तिनाउलगायत रुपन्देहीका अन्य नदीमा पनि पानीको बहाव बढेकाले नदी किनारमा रहेका सर्वसाधारणलाई सुरक्षित रहन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताए। जिल्लास्थित सुरक्षाका तीनैवटा निकायलाई तयारी अवस्थामा रहन पनि निर्देशन दिइएको छ। रासस
अर्थ समिति बैठकमा पलास्टिकका बोत्तल हटाइयो, स्टिलको जग राखियाे काठमाडौँ। संसदीय समितिमा पलास्टिकका बोत्तल निषेध गर्न सुरु गरिएको छ। हालै अर्थ समितिको बैठकमा पलास्टिकका पानीको बोत्तलको सट्टा स्टिलको जग तथा सिसाको गिलास प्रयोग गर्न थालिएको छ । सो बारेमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बिराजभक्त श्रेष्ठले जानकारी दिँदै भनेका छन्, ‘पर्यावरण संरक्षणमा सानो उपलब्धी ’ उनले स्टिलको जग तथा सिसाको गिलास बैठक कक्षमा आउन थाले पछि लेखेका छन्, ‘अर्थ समितिको अघिल्लो बैठकमा हामीले प्लास्टिकको बोटल हटाउन गरेको अनुरोधलाई कार्यन्वयन गरि पुनः प्रयोग गर्न सकिने स्टील र सीसाको भाँडा प्रयोग गरी दिनु भएकोमा हृदयदेखि नै धन्यवाद।’ उनी अगाडी लेख्छन्, ‘सानो सानो पाइलाले परिवर्तनको बाटो खोल्दछ, नेपालको जय होस्।’
पहिरा खस्दा पोखरा–बागलुङ खण्ड अवरुद्ध पर्वत। धवलागिरि क्षेत्रको ‘लाइफ लाइन’का रूपमा रहेको मध्यपहाडी राजमार्गको पोखरा–बागलुङ खण्ड अवरुद्ध बनेको छ। पर्वतको मोदी गाउँपालिका–६ स्थित महभिरमा सडकमाथिबाट पहिरो खस्दा गए रातिदेखि सडक अवरुद्ध बनेको हो। भारी वर्षाका कारण भिरबाट ठूला–ठूला ढुंगासहितको पहिरो खसेर सडक पुरिएको हो। अवरुद्ध सडक खुलाउनका लागि जेसिबी र सुरक्षाकर्मीलाई परिचालन गर्ने तयारी भइरहेको पर्वतका ट्राफिक प्रहरी प्रमुख सुमन न्यूरेले जानकारी दिए। वर्षा नरोकिएका कारण सडक खुलाउन समस्या भएको छ। सडक अवरुद्ध हुँदा पोखरातर्फबाट धवलागिरिका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङतर्फ आएका सवारीसाधन नयाँपुलमा रोकिएका छन् भने यस क्षेत्रबाट अन्यत्र जाने लामो तथा छोटो दूरीका सवारीसाधन डिमुवामा रोकिएका छन्। अहिले पनि यस क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ। ठूलो वर्षाका कारण केही ग्रामीण सडकमा समेत आवतजावत बन्द भएको छ।
आजको मौसमः मनसुनी वायुकाे प्रभाव रहने, सडक तथा हवाइ यातायात प्रभावित हुन सक्ने काठमाडाैं। हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ। कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ-गर्जन/चट्याङ हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी र गण्डकी प्रदेशको एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। राति भने देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। मधेश प्रदेश र लुम्बिनी प्रदेशको तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ। देशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। मधेश प्रदेश र लुम्बिनी प्रदेशको तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ। त्यसैले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने देखिन्छ। तसर्थ भारी वर्षा, मेघ-गर्जन/चट्याङ, गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ।
भारतीय दूतावासमा मनाइयो ‘असार पूर्णिमा’ काठमाडौं। भारतीय राजदूतावास, काठमाडौँले ‘असार पूर्णिमा’को अवसरमा अन्तर्राष्ट्रिय बौद्ध परिसङ्घको सहकार्यमा आज दूतावासस्थित स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रमा एक कार्यक्रमको आयोजना गरेको छ । समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले बौद्ध धर्म भारत र नेपाललाई सदियौँदेखि जोड्ने बन्धन मध्येको एक भएको बताउँदै बौद्ध र अन्य धार्मिक सर्किटको निर्माणले आधुनिक समयमा भारत र नेपालबीचको सभ्यतागत सम्बन्धलाई सुदृढ बनाउने विश्वास व्यक्त गरे । दूतावासका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तवले भगवान् बुद्धले दिएको शिक्षाको महत्त्वबारे चर्चा गर्दै भारत र नेपालमा रहेका बौद्ध धर्मका पवित्र स्थलहरूले दुई देशबीचको साझा सांस्कृतिक सम्पदालाई प्रतिविम्बित गरेको बताएका थिए । कार्यक्रममा नेपालका विभिन्न बौद्ध सम्प्रदाय र गुम्बाका प्रतिनिधिका साथै लुम्बिनी विकास कोषका पदाधिकारीहरूको सहभागिता थियो । कार्यक्रममा अन्तर्राष्ट्रिय बौद्ध परिसङ्घका सचिव खेन्पो छिमेद परिसङ्घ प्रतिनिधिका रूपमा उपस्थित थिए । बोधगयामा बुद्धत्व प्राप्त गरेपछि भगवान् बुद्धले सारनाथमा आफ्ना पहिलो पाँचजना तपस्वी चेलालाई दिएको पहिलो उपदेशलाई असार पूर्णिमाको दिन विशेष स्मरण गरिन्छ । यसलाई धर्म चक्रको पहिलो फन्कोका रूपमा चिनिन्छ । सो उपदेशमा भगवान् बुद्धले ‘चार आर्य सत्य’ र ‘आर्य अष्टाङ्गिक मार्ग’ बारे बताएका थिए । कार्यक्रममा महायाना सङ्घ र थेरावडा सङ्घले भगवान् बुद्धको प्रार्थना गरेका थिए । तत्पश्चात् चार बौद्ध सूत्रको प्रार्थना गरिएको थियो । अन्तर्राष्ट्रिय बौद्ध परिसङ्घका सचिव खेन्पो छिमेदले कार्यक्रममा उपस्थित अतिथिलाई स्वागत गर्नुका साथै सो कार्यक्रमको महत्त्वबारे प्रकाश पारेका थिए। कार्यक्रममा लुम्बिनी गुम्बा क्षेत्रमा निर्माण हुने भारत अन्तर्राष्ट्रिय बौद्ध संस्कृति तथा सम्पदा केन्द्रको डिजाइन तथा विशेषताबारे तयार पारिएको भिडियो पनि प्रस्तुत गरिएको थियो । सो अवसरमा भारत र नेपालका विभिन्न धार्मिक महत्त्वका बौद्ध स्थलहरूको प्रदर्शनी पनि राखिएको थियो । सन् २०२२ को मे महिनामा बुद्ध पूर्णिमाका अवसरमा भएको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणका क्रममा प्रधानमन्त्री मोदी र नेपालका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्तरूपमा सो केन्द्रको शिलान्यास गरेका थिए।
बारले अदालती कामलाई असर नपर्ने गरी विरोध गर्ने काठमाडौं। नेपाल बार एसोसिएसनले अदालतभित्रै कर्मचारी कुटेको आरोपमा कानुन व्यवसायीलाई पक्राउ गरिएको विरोधमा मङ्गलबार अदालतको कामलाई असर नपर्ने गरी विरोध गर्ने भएको छ। बारको आन्दोलनका कारण आज सर्वोच्च अदालतदेखि देशभरका अदालतमा बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दामा बहस पैरवी भएन । अदालतको कामलाई असर नपर्ने गरी विरोधलाई यथावत् राख्ने आज निर्णय गरेको हो। बारका महासचिव अञ्जिता खनालका अनुसार आन्दोलन जारी रहने तर अदालतको कामलाई असर नपर्ने गरी आफ्ना मागहरु यथावत् रहेको जानकारी दिए। बारले सेवाग्राहीलाई असर नपर्ने गरी मङ्गलबार खाजा समयमा विरोध गर्ने जनाएको छ। जिल्ला अदालत ललितपुरकी कर्मचारी प्रेमिका तामाङलाई हातपात गरेको आरोपमा कानुन व्यवसायी अमिर लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । सोही विरोधमा बारले आज देशभर बन्दीका मुद्दा बाहेकमा बहस पैरवी नगरेको हो। बारले थुनामा रहेका अधिवक्ता लामिछानेलाई २४ घण्टाभित्र रिहा गर्नुपर्ने, सिसी टिभी फुटेज सार्वजनिक गर्नुपर्ने र लामिछानेले दिएको जाहेरी दर्ता गर्नुपर्ने माग गरेको छ। यही असार १३ गते जिल्ला अदालत ललितपुरमा नासु तामाङलाई काम गरिरहेको अवस्थामा लामिछानेले आक्रमण गरेको भन्दै प्रहरी पक्राउ गरेको हो। लामिछानेविरुद्ध नासु तामाङले घटना भएकै दिन जिल्ला अदालत ललितपुरमा अदालतको अवहेलनामा कारबाही गर्न माग गर्दै निवेदन दिएपछि अधिवक्ता लामिछानेलाई पक्राउ गरिएको थियो।
वर्षायाममा खाद्यान्न अभाव नहुने काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यस वर्षको वर्षायाममा कहीँ कतै खाद्यान्न अभाव नहुने जनाएको छ । देशभरको गोदाममा खाद्यान्न मौज्दात रहेको, थप खाद्यान्न खरिद र ढुवानी प्रक्रिया जारी रहेको मन्त्रालयले जनाएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीका अनुसार हाल काठमाडौँ उपत्यका तथा तराईका जिल्लामा ३६ हजार तीन सय ५६ क्विन्टल खाद्यान्न मौज्दात छ । अतिदुर्गम तथा दुर्गम जिल्लामा २५ हजार पाँच सय पाँच क्विन्टल खाद्यान्न मौज्दात रहेको कम्पनीले जनाएको छ । प्रतिस्पर्धाको माध्यमबाट खुला बजारबाट थप खाद्यान्न खरिद भइरहेको र थप चामल खरिदका लागि बोलपत्र आह्वान गर्ने प्रक्रिया पनि जारी रहेको छ । हाल २६ हजार तीन सय ७५ क्विन्टल धान मौज्दात छ । भारतबाट आयात कोटाअन्तर्गत साल्ट ट्रेडिङमार्फत ३४ हजार तीन सय २० क्विन्टल गहुँ तत्काल प्राप्त हुनेछ । कम्पनीसँग कूल दुई लाख ६६ हजार तीन सय क्विन्टल खाद्यान्न मौज्दात रहनेछ । हाल खुला बजारबाट प्रतिस्पर्धाका माध्यमबाट सम्झौता भएको ८९ हजार एक सय क्विन्टल खाद्यान्न कम्पनीको गोदाममा आइरहेको र भारतबाट आयात हुने खाद्यान्न पनि लोड भइसकेको जनाइएको छ । चालु आर्थिक वर्षको असार १२ गतेसम्म दुर्गमका जिल्लामा १७ हजार आठ सय ३० मेट्रिक टन खाद्यान्न ढुवानी भएको छ । बढी खाद्यान्न समस्या देखिएको हुम्लामा चार हजार क्विन्टल कोटा थप गरी हवाइमार्गबाट दैनिक ढुवानी भई वितरण भइरहेको छ । बझाङमा पनि एक हजार क्विन्टल कोटा थप गरिएको छ । पूर्वी जिल्लामा पनि पर्याप्त खाद्यान्न मौज्दात रहेको कम्पनीले स्पष्ट पारेको छ । पालिकास्तरमा भने खाद्यान्न सञ्चिति गर्ने गोदाम नभएकाले आवश्यक मात्रामा बिक्री केन्द्रमा खाद्यान्न ढुवानी गरेर वितरण भइरहेको कम्पनीले जनाएको छ । चालु आर्थिक वर्षमा हालसम्म पालिकास्तरबाट माग भएका स्थानमा ४७ हजार तीन सय ३४ क्विन्टल चामल वितरण भइसकेको छ । कतिपय स्थानमा भने माग नै नभएकाले आपूर्ति नगरिएको कम्पनीले जनाएको छ ।
रुपन्देहीमा १२ वर्षीया बालिका बलात्कृत रूपन्देही । जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले रुपन्देहीबाट एक जनालाई पक्राउ गरेको छ । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सियारि गाउँपालिका ४ ओर्लहबा बस्ने ५० वर्षीय चन्द्रीका हरिजनलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो । हरिजनले बालिकालाई शुक्रबार बिहान जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय छपियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
थपिए २९५ नर्स, वीरमा २४५ र ५० जना लाई अन्य अस्पतालमा पदस्थापन काठमाडौं। लामो समयदेखि नर्सिङ जनशक्तिको अभाव झेलिरहेको देशकै सबैभन्दा ठूलो र पुरानो वीर अस्पतालले सोमबारदेखि २४५ जना नयाँ नर्स पाएको छ । लोकसेवा आयोगको लिखित र अन्तरवार्ता उर्तीण गरेर आएका २९५ जना नर्स मध्ये स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४५ जनालाई वीर अस्पतालमा पदस्थापन गरेको छ । बाकी रहेका ५० जनालाई नेपाल सरकार मातहतका संघीय अस्पतालमा खटाएको छ । नर्सिङ जनशक्ति अभावमा वीर अस्पतालले १० शैय्याको आईसियू सञ्चालन गर्न सकेको छैन् । यति ठूलो संख्यामा नर्सहरूलाई एकै पटक वीर अस्पतालमा पदस्थापन गरेको यो पहिलो पटक हो । नयाँ नियुक्त भएर वीरमा जान लागेका नर्सिङ जनशक्तिलाई स्वास्थ्य मन्त्रालयमा बोलाएर निर्देशन दिँदै स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले मानवीय संवेदना जोडिएको क्षेत्र भएकाले नर्सिङ पेसा जागिर मात्र नभएको बताए । सेवाका हिसापले नर्सिङ जनशक्ति दोश्रो भगवान नै भएको बताउँदै गरिव र विपन्न विरामीको उपचारलाई सेवाको रुपमा लिएर अगाडि बढ्नु पर्नेमा मन्त्री बस्नेतले जोड दिए । नर्सिङ जनशक्तिलाई भविश्यमा उपयुक्त अवसर दिने काममा स्वास्थ्य मन्त्रालय पछि नपर्ने मन्त्री बस्नेतले बताए । कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा। रोसन पोखरेल, देवकुमारी गुरागाई लगायत अतिरिक्त सचिवहरु र मन्त्रालयका अधिकारीको उपस्थिति रहेको थियो ।
ठमेलको एलओडी क्लव गएकी १५ वर्षकी किशोरीलाई बलात्कार गरेको आरोपमा कोइराला पक्राउ काठमाडौं । काठमाडौंको ठमेल पुगेकी एक किशोरीलाई ललितपुर पुर्याएर बलात्कार गरेको आरोप एक पुरुष पक्राउ परेका छन् । दुई साता अघि ठमेलस्थित एलओडी क्लब पुगेकी १५ वर्षीया किशोरीलाई ललितपुरका ५० वर्षीय पुरुषले बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन् । स्थायी घर पोखरा भएका तर ललितपुर बस्दै आएका सुदनबहादुर कोइराला बलात्कार अभियोगमा पक्राउ परेको ललितपुर प्रहरीका प्रमुख एसपी सिद्धिविक्रम शाहले बताए । उनका अनुसार उदयपुर स्थायी घर भई कोटेश्वर बस्दै आएकी १५ वर्षीया बालिकालाई एलओडी क्लबबाट ललितपुरको बागडोल पुर्याएर बलात्कार गरिएको थियो । कोइरालाले जेठको अन्तिम साता एलओडी क्लबबाट आफ्नै गाडीमा राखेर बागडोल पुर्याएर बलात्कार गरेका थिए । बागडोलमा कोइरालाको अफिस थियो । सोही कार्यालयमा लगेर उनले बालिकालाई बलात्कार गरेको उजुरी परेपछि उनलाई पक्राउ गरी अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।
प्रिय पत्रकार! के यो कविता अखबारमा छापिन्छ? बेलहिया (रुपन्देही)। प्रिय पत्रकार ! म त सहरभन्दा सुदूर दुर्गम बस्तीको कवि हुँ कोरेको छु, समाज र जीवनको प्राण भर्ने प्रेमिल भाकाहरु संस्कार, सस्कृति र वेषभूषाहरु । र, कोरेको छु भूँइ मान्छेहरुको आवज, दियो कुरी बसेका आखाँहरुको आशा थवाङ रोल्पाका स्रष्टा टङ्कबहादुर झाँक्री मगरले प्रिय पत्रकार शीर्षकको कविताका हरेक वाक्यमा पत्रकारलाई लक्षित गरी सोधिएका वाक्यांशले बर्दघाट नगरपालिकाको सभाहलमा उपस्थित सबैको ध्यानकर्षण गराइरहेको थियो । कवि झाँक्री मगरले अगाडि वाचन गरे । कोरेको छु, हुरीको आवेगले उजाडिएको झुप्रोभित्र, मुस्कान पर्खिरहेका ओठहरुको माग । र, कोरेको छु समयको जोखना हेरेर आकाशे खेती गर्न आउने दुर्लभ प्राणीहरुको दोहोरो चरित्र । प्रिय पत्रकार ! साच्चै यस्तो कविता रङ्गिन सहरबाट प्रकाशन हुने, ठूलो अखबारमा छापिन्छ कि छापिँदैन ?’ लुम्बिनी प्रदेशका १२ जिल्लाका साहित्यकारले भरिभराउ हलमा मगरको उक्त कविताले पत्रकारलाई प्रश्न गरेपछि कपिलवस्तुका शिरिष बञ्जाडेले समाजमा विभिन्न पोशाक लगाउनेको पेसाप्रति व्यङ्ग्यात्मक ढङ्गले प्रस्तुत गरेको ‘नेता बनुँ झैँ लाग्यो’ शीर्षकको कविताले तालीको गडगडाहट पायो । सेतो कोट भिरेर आज तनको व्यापार फैलाउँछन, कालो कोट भिरी समाजभरमा उद्दन्ड मच्चाउँछन निलो कोट भिरेर दोहन गरे सम्पत्ति यो राष्ट्रको जो–जो गर्छ यिनै कुरा छ उसैको सेखी असाध्यै ठूलो हिँड्छन गणतन्त्र आज उनले च्यापेर काखीमुनि, भन्छन्– उड नभ चुम स्वतन्त्र त भइस् काटी पखेटा लगी । कैयौँ तन्त्र उठे ढले विगतमा, आट्यो र के ढल्न थाल्यो यो ? यौटा तन्त्र बचाउने प्राण लिइ नेता बनुँ झैँ भयो । बञ्जाडे र झाँक्री मगरसहित २५ वटा कविता वाचन गरिएको उक्त कार्यक्रममा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सहभागी नचलमलाई बसिरहे । र, कविता सुनिरहेँ । असारको मध्यमा निरन्तर परिरहेको झरीको पर्वाह नगरी प्रदेशका विभिन्न जिल्लाबाट सहभागी हुन आएका साहित्यकारको भीडबाट बेलाबेला तालीको गडगडाहटको स्वर गुञ्जिरह्यो । दिनभर बर्दघाट नगरपालिकाको सभाहलमा कवि र कविताबारेमा छलफल पनि चल्यो । सोही अवसरमा पत्रकारसमेत रहेका दाङका स्रष्टा नविन अभिलाषीले आफ्नै पसिनाको उर्वर भूगोलमा हामी अनन्त दुःखका असली उपभोक्ता मात्र बन्यौँ, आगो छुटेको प्रमिथस जस्तो, कालो कुवाभित्र कैद गरिएका दास जस्तो भयौँ’ वाक्यांश सहित ‘पुनश्चः प्रायश्चित’ शीर्षकको कविताले धेरैलाई सोचमग्न बनायो । लुम्बिनी प्रदेशमा रहेका एक सय नौ स्थानीय तहमध्ये भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्ने गरी नवलपरासीको बर्दघाट नगरपालिकाले प्राज्ञसभा गठन गरेको छ । सोही बर्दघाट प्रज्ञा–प्रतिष्ठानको आयोजनामा भएको प्रदेशस्तरीय कवि गोष्ठी तथा प्रतियोगिताका सहभागीले देश परिवेशका बारेमा कवितामार्फत आफ्नो चासो र चिन्ता जाहेर गरेका हुन् । ‘प्रिय पत्रकार’ कविता प्रथम बर्दघाट प्रज्ञा–प्रतिष्ठानले आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय प्रतियोगितात्मक कविगोष्ठीमा रोल्पाका टङ्कबहादुर झाँक्री मगरको ‘प्रिय पत्रकार’ शीर्षकको कविता पहिलो भएको छ कपिलवस्तुका शिशिर बन्जाडेको कविता ‘नेता बनुँ झैँ लाग्यो’ दोस्रो भयो । साथै नेपाल टेलिभिजनमा कार्यरत पत्रकार नवीन अभिलाषीको ‘पुनःप्रायश्चित’ कविता तेस्रो र पद्यमावती रिजालको कविता चौथो भयो । प्रदेशस्तरीय प्रतियोगितात्मक कविगोष्ठीमा पहिलोलाई रु २५ हजार, दोस्रोलाई रु २० हजार, तेस्रोलाई रु १५ हजार र चौथोलाई रु १० हजार नगदसहित प्रमाण पत्र प्रदान गरिएको थियो । प्रतियोगितात्मक कविगोष्ठीमा इमेलमार्फत प्राप्त भएका ५१ रचनामध्ये छनोटमा परेका २७ कवितामध्ये २५ वटा गोष्ठीमा वाचन गरिएको थियो । प्रतियोगितामा नवलपरासीका डा श्यामप्रसाद न्यौपानेको संयोजकत्व र रुपन्देहीका कविराज पौडेल र दाङका टीकाराम उदासी मगर मूल्याङ्कनकर्ता थिए। प्रमुख अतिथी लुम्बिनी प्रदेशसभा सदस्य विश्वप्रेम पाठकले साहित्य समाजको दर्पण भएको बताए । प्रज्ञा–प्रतिष्ठानका कुलपति डा घनश्याम न्यौपानेले साहित्यिक उन्नयनका लागि स्थानीय तहले सहयोग गर्नुपर्ने भनाइ राखे। उनले भने, “साठी वर्षदेखि कविता लेखिरहेको स्रष्टाका रुपमा यहाँ सहभागी हुन पाउँदा आफूलाई गौरवान्वित बनाएको छ ।” कार्यक्रममा बर्दघाट नगर प्रमुख तथा बर्दघाट प्रज्ञा–प्रतिष्ठानका प्रमुख संरक्षक शम्भुलाल श्रेष्ठले साहित्यको विकासका लागि सहयोग सधैँ जारी रहने बताए । नगरपालिकाका उपप्रमुख तथा संरक्षक रुद्रप्रकाश उपाध्ययले बर्दघाट नगरले सोचेभन्दा महत्वपूर्ण राष्ट्रियस्तरको साहित्यिक कार्यक्रम गर्न पाउँदा खुसी लागेको बताए । भाषा साहित्यका विद्वान प्राध्यापक होमनाथ पान्डेले भाषा साहित्यको विधामा सबैभन्दा जेठो विधा कविताले संसारलाई मार्गदर्शन गर्ने बताए । उनले भने, “विज्ञान, दर्शन, शास्त्र, पुराण सबै कवितामय हुनुको पछाडि केही विशिष्ट लक्षण छन् ।” बर्दघाट प्रज्ञा–प्रतिष्ठानका उपकुलपति टीकाबहादुर पहारीले समाज र देशको चित्रण गर्ने गरी प्रस्तुत भएका कविताको उचाइ धेरै माथि भएको बताए । संस्थाका सदस्यसचिव वामदेव अधिकारीको सञ्चालनमा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेशको बर्दिया, बाके, दाङ, रुकुम, रोल्पा, कपिलवस्तु, प्यूठान, अर्घाखाँची, गुल्मी, रुपन्देही, पाल्पा, नवलपरासी जिल्लाका कविको उपस्थिति थियो ।
ललिता निवास प्रकरण : थप दुई पक्राउ काठमाडौं । ललिता निवासको जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोपमा नेपाल प्रहरीले आज थप दुई जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)का प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यका अनुसार पक्राउ पर्नेमा तत्कालिन नायव सुब्बा रमेशकुमार पोखरेल र देवनारायण महर्जन छन् । प्रहरीले आइतबार पनि प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो । प्रहरीले आइतबार वडा सचिव शिवजी भट्टराई, नापी सर्वेक्षक घमनकुमार कार्की र मोही बाबुराम महर्जनलाई पक्राउ गरेको थियो । यस प्रकरणमा पछिल्लो समय सिआइवीले नौ जनालाई पक्राउ गरिसकेको छ । उक्त प्रकरणमा केहीअघि मात्रै पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, तत्कालिन सरकारी कर्मचारी धर्मप्रसाद गौतम र गोपाल कार्कीलाई पक्राउ गरिएको थियो । विसं २०४९ देखि २०६९ सम्ममा सरकारको स्वामित्वमा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी भएको फेला परेपछि उक्त प्रकरणमा सिआइवीले अनुसन्धान गरिरहेको छ । यसअघि तीन सय जनालाई प्रतिवादी बनाएर ब्यूरोले जिल्ला सरकारी वकिलको कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएको थियो । तर सरकारी वकिलको कार्यालयले थप अनुसन्धान गर्नुपर्ने जनाउँदै फाइल फिर्ता पठाएको थियो ।
ललितपुर जिल्ला अदालतमा कर्मचारी र कानून व्यवसायी बीचको विवाद चर्कदै (भिडियोसहित) ललितपुर। ललितपुर जिल्ला अदालतमा कर्मचारी र कानून व्यवसायीबीच भएको विवाद चर्कदै गएको छ । अदालतमा कार्यरत नायब सुब्बा प्रेमिका तामाङमाथि कुटपिट गरेको विरोधमा देशभरिका अदालतका कर्मचारीले काम रोकेपछि कानून व्यवसायीहरुले पनि बहस पैरवी छाडेर घटनाको सत्यतथ्य सार्वजनिक हुनुपर्ने भन्दै विरोध प्रदर्शन गरेका छन् । उनीहरुले सोमबार ललितपुर जिल्ला अदालतको प्राङ्गणमा कानून व्यवसायीमाथिको आक्रमण, झुठा मुद्दा, अदालतमा भएका विकृति विसंगति, घुसखोरी र भ्रष्टाचारको विरुद्धमा भन्दै विरोध सभा गरेका हुन् । उनीहरुले उक्त घटनाको छानबिन हुनु पर्ने, दोषीलाई कारबाही गर्नु पर्ने र कानुन व्यवसायी अमिर लामिछानेमाथि लगाइएको झुटो मुद्दा फिर्ता हुनु पर्ने माग राखेर प्रदर्शन गरेका हुन् । त्यस्तै कानून व्यवसायीहरुले सेवा लिन गएका कानुन व्यवसायीमाथि कर्मचारीबाट हातपात भएकाले सिसिटिभि देखाउन चूनौति समेत दिएका छन् । विरोध प्रदर्शनमा नेपाल बार एशोसिएसनका अध्यक्ष गोपाल कृष्ण घिमिरेले आफुहरुको अभियान अदालतको कर्मचारी र न्यायाधिश विरुद्धको अभियान नभएको र भ्रष्टाचारविरोधीको अभियान भएको बताए । उनले कानून व्यवसायी पनि घुसखोर छ भने निर्मम भएर लाग्ने जिकिर गर्नुभयो । घिमिरेले उक्त घटनाको निष्पक्ष छानविन हुनुपर्ने माग गरे । उनले अदालतभित्र हुने भ्रष्टाचारीलाई कसैले पनि जोगाउन नसक्ने स्पष्ट पारे। गत असार १३ गते बुधबार जिल्ला अदालत ललितपुरमामा कार्यरत नायब सुब्बा प्रेमिका तामाङ र कानुन व्यवसायी अमिर लामिछानेबीचको विवाद भएको थियो । अधिवक्ता लामिछानेले उच्च अदालत पाटनको फाँटमा काम गर्ने तामाङसँग सक्कली मिसिल माग्दा विवाद भएको र हातपात भएको बताउदै आएका छन्। १३ गते नै अदालत परिसरबाट पक्राउ परेका लामिछाने आइतबार मात्रै प्रहरी हिरासतबाट साधारण तारेखमा रिहा भएका छन् । कर्मचारी तामाङले अधिवक्ता लामिछानेलाई कारबाहीका लागि अदालतमा पनि निवेदन दिए । दुईपक्षको विवादका कारण अदालतको कामकारवाही नै प्रभावित भएको छ । हेर्नुहोस् भिडियो:
एसइई नतिजा प्रकाशन अन्तिम तयारीमा भक्तपुर। राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०७९ मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी सुरु गरेको छ। नतिजा प्रकाशनका लागि उत्तरपुस्तिकका परीक्षण, सम्परीक्षण, रुजु गर्ने काम सकेर हाल नतिजा कम्प्युटरमा प्रविष्ट गर्ने काम भइरहेको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए। “असारको तेस्रो साताभित्र नतिजा प्रकाशन गर्ने कार्यतालिका अनुसार काम भइरहेको छ”, उनले भने, “उत्तरपुस्तिका परीक्षणको काम सकिए पनि प्राविधिक काम बाँकी छ।” हतारमा नतिजा प्रकाशित गर्दा धेरै त्रुटी हुने सम्भावना भएकाले सकेसम्म त्रुटी नहुने गरी गरी नतिजा प्रकाशन गरिने उनको भनाइ छ। “जटिल प्राविधिक समस्या नआए असार २१ गतेभित्र नतिजा सार्वजनिक गर्छौं”, उनले भने। परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले पनि परीक्षाफल असार तेस्रो साताभित्रै सार्वजनिक गर्ने गरी काम भइरहेको बताए। एसईई परीक्षा गत चैत १७ गतेदेखि सुरु भएको थियो। परीक्षामा देशभरका दुई हजार ३७ परीक्षाकेन्द्रमा सामुदायिक र निजी विद्यालयका गरी १२ हजार ८३ विद्यालयका चार लाख ८५ हजार तीन सय ९६ विद्यार्थी सहभागी थिए। जसमा छात्रा दुई लाख ४२ हजार सात सय १२ र छात्र दुई लाख ४२ हजार छ सय ७४ जना थिए। कक्षा ९ देखि प्राविधिक धारसमेत पठनपाठन गराउँदै आएका विद्यालयबाट १५ हजार चार सय ६१ जना परीक्षार्थी एसइईमा सहभागी भएका थिए। परीक्षा नियन्त्रणका कार्यालयले जिल्ला सदरमुकाममा केन्द्र तोकेर उत्तरपुस्तिका परीक्षण गराएको थियो। नतिजा पद्धतिमा अन्योल एसइई नतिजा प्रकाशन लेटर ग्रेडिङ निर्देशिका, २०७२ बाट गर्ने कि २०७८ अनुसार गर्ने भन्नेबारेमा अझै टुंगाे लागेको छैन। निजी विद्यालयको छाता संस्था एन प्याब्सन भक्तपुरका अध्यक्ष सञ्जय खड्काले नतिजा प्रकाशन पुरानै लेटर ग्रेडिङ निर्देशिकाबाट गर्ने कि २०७८ को नयाँ पद्धतिबाट गर्ने विषयमा टुंगाे नलाग्दा अन्योल भएको बताए। बोर्डले गतवर्ष लेटर ग्रेडिङ निर्देशिका २०७८ कार्यविधि लागू गरेपनि नतिजा भने २०७२ को पद्धति अनुसार नै गरेको थियो। “पुरानो पाठ्यक्रमबाट एसइई दिने अन्तिम ब्याच भएकाले पुरानो निर्देशिका (२०७२) अनुसार नै नतिजा प्रकाशन हुनुपर्ने हाम्रो माग छ”, अध्यक्ष खड्काले भने, “नयाँ निर्देशिका २०७८ अनुसार नतिजा प्रकाशित भए अनुत्तीर्ण हुने विद्यार्थीको भविष्य अन्योल बन्छ ।” आगामी वर्षको नयाँ पाठ्यक्रममा आधारित भइ प्रश्नपत्र आउने र यसले पुराना पाठ्यक्रम अध्ययन गर्ने विद्यार्थीलाई निकै मर्का पर्न उनको भनाइ छ। विसं २०७२ मा सैद्धान्तिक र प्रयोगात्मकको अंक जोडेर ३५ प्रतिशत अंक ल्याए पनि विद्यार्थी उत्तीर्ण हुने व्यवस्था थियो। विसं २०७२ को पद्धतिअनुसार नतिजा प्रकाशित भए ९० देखि १०० ल्याउनेलाई ‘ए’ प्लस, ८० देखि ९० भन्दा कम ल्याउनेलाई ‘ए’, ७० देखि ८० भन्दा कम ल्याउनेलाई ‘बी प्लस’, ६० देखि ७० भन्दा कम ल्याउनेलाई ‘बी’, ५० देखि ६० भन्दा कम ल्याउनेलाई ‘सी प्लस’, ४० देखि ५० भन्दा कम ल्याउनेलाई ‘सी’, ३० देखि ४० भन्दा कम ल्याउनेलाई ‘डी प्लस’, २० देखि ३० भन्दा कम ल्याउनेलाई ‘डी’ र २० भन्दा कम ल्याउनेलाई ‘ई’ ग्रेड प्रदान गर्ने व्यवस्था छ। नयाँ निर्देशिका २०७८ अनुसार सैद्धान्तिक विषयमा विद्यार्थीले अनिवार्य ३५ प्रतिशत अंक ल्याउनुपर्ने व्यवस्था छ। नयाँ पद्धतिअनुसार सबै विषयमा ३५ प्रतिशतभन्दा कम अंक ल्याउनेलाई ‘नन ग्रेडेड’मा राख्ने व्यवस्था छ। दुई विषयसम्म नन ग्रेडिङमा परे तत्कालै ग्रेडवृद्धि परीक्षा दिन पाइने व्यवस्था छ भने त्यसभन्दा धेरै विषयमा नन ग्रेडिङमा परे अर्को वर्ष ती विषयको परीक्षा दिन पाइने व्यवस्था गरिएको छ। यसअघि दुईभन्दा धेरै विषयमा ननग्रेडिङ आए सबै विषयको परीक्षा दिनुपर्ने बाध्यता थियो। बोर्ड बैठक आज एसइईको नतिजा कुन पद्धतिमा गर्नेभन्ने विषयमा निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक आज बस्ने भएको छ। बोर्डका अध्यक्ष डा. शर्माले भने, “एसइईको नतिजा कुन पद्धतिमा हुन्छ भनेर अन्योलमा पर्नुपर्ने अवस्था छैन, यसबारेमा निर्णय लिन आज बोर्ड बैठक बस्दैछ, सम्भवतः आजकै बैठकले यसबारेमा निर्णय लिनेछ।”  रासस
१५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ काठमाडौं। काठमाडौंको ठमेल पुगेकी एक किशोरीलाई ललितपुर पुर्‍याएर बलात्कार गरेको आरोप एक पुरुष पक्राउ परेका छन्। दुई साता अघि ठमेलस्थित एलओडी क्लबपुगेकी १५ वर्षीया किशोरीलाई ललितपुरका ५० वर्षीय पुरुषले बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन्। स्थायी घर पोखरा भएका तर ललितपुर बस्दै आएका सुदनबहादुर कोइराला बलात्कर अभियोगमा पक्राउ परेको ललितपुर प्रहरीका प्रमुख एसपी सिद्धिविक्रम शाहले बताए। उनका अनुसार उदयपुर स्थायी घर भई कोटेश्वर बस्दै आएकी १५ वर्षीया बालिकालाई एलओडी क्लबबाट ललितपुरको बागडोल पुर्‍याएर बलात्कार गरिएको थियो। कोइरालाले जेठको अन्तिम साता एलओडी क्लबबाट आफ्नै गाडीमा राखेर बागडोल पुर्‍याएर बलात्कार गरेका थिए। बागडोलमा कोइरालाको अफिस थियो। सोही कार्यालयमा लगेर उनले बालिकालाई बलात्कार गरेको उजुरी परेपछि उनलाई पक्राउ गरी अनुसन्धान गरिएको प्रहरीले जनाएको छ।
मित्रपार्कको आकाशेपुल वर्षौंदेखि अलपत्र काठमाडौँ। पशुपति क्षेत्रस्थित मित्रपार्क चोकमा निर्माणका लागि शिलान्यास गरिएको आकाशेपुलको काम वर्षौंदेखि अलपत्र बनेको छ। काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख विद्यासुन्दर शाक्यले कार्यकालको अन्त्यतिर मित्रपार्कमा आकाशेपुल निर्माणका लागि शिलान्यास गरेका थिए। पुलको शिलन्यास गरिएपनि निर्माण नहुँदा अलपत्र बनेको हो। आकाशेपुल निर्माणका लागि तोकिएको स्थानको माथि ‘हाइटेन्सन लाइन’ देख्दादेख्दै ‘साइड क्लियर’ नगरी शिलान्यास गरिएको स्थानीय रवि ढुंगेलले जानकारी दिए। शिलन्यास गर्दादेखि यस स्थानमा आकाशे पुल निर्माण उपयुक्त नहुने भनी आवाज उठाएकामा सुनुवाइ नहुँदा निर्माण अलपत्र भएको उनको भनाइ थियो। ढुंगेलका अनुसार चुनावी वर्षमा सस्तो लोकप्रियताका लागि गरिएको कामले अहिले पैदल यात्रु अप्ठ्यारोमा पर्ने गरेका छन्। “पुलका लागि आधा फलाम ठड्याएर अलपत्र छोड्दा पैदल यात्रु हिँड्दा समस्यामा पर्न थालेका हुन्”, उनले भने। महानगरपालिका निर्माण विभागका प्रमुख रामबहादुर थापाले हाइटेन्सन लाइन नहटेकाले काम पूरा गर्न समस्या भएको बताए। उनका अनुसार पुल निर्माणका लागि विभागले ठेक्का गरेको हो। काठमाडौँ महानगरपालिका वडा नं ७ को कार्यालयअगाडि नै निर्माण सुरु गरिएको उक्त पुल वर्षौंदेखि अलपत्र बनेको छ। पुलको डिजाइनमा केही परिवर्तन गरेर काम अगाडि बढाउने गरी माग गरिएको अध्यक्ष विमलकुमार होडाले जानकारी दिए। उनका अनुसार वडाले अपांगता भएका व्यक्तिलाई पनि सहज हुने गरी पुलमा लिफ्ट राख्नुपर्ने प्रस्ताव गरेको छ। “हाइटेन्सन लाइन हटाउन महानगरपालिकाले पैसा दिन्छु भनिरहँदा नेपाल विद्युत् प्राधिकरणले सहयोग गरेको छैन”, उनले भने। मित्रपार्क चोकमा निर्माणाधीन आकाशेपुल सम्पन्न भए दैनिक पशुपतिनाथ मन्दिर आवतजावत गर्ने धेरै भक्तजन तथा पैदल यात्रुलाई सहज हुने स्थानीयको भनाइ छ। वर्षौंदेखि अलपत्र बनेको पुल निर्माणमा सरोकारवाला निकायले ध्यान नदिएको स्थानीय मैना भण्डारीले गुनासो गरिन्। “नियमित काम गरे एक हप्तामा सकिने यस्ता काममा वर्षौं बित्दासमेत सरोकारवाला निकायको ध्यान नजानु दुःखद् हो”, उनले भनिन्, “पुल समयमै सम्पन्न भए पैदल यात्रुका कारण हुने सवारी जाम केही भएपनि व्यवस्थित हुने थियो।” – रासस
नझुक्किनुस्, यी काठमाडौं कै सडक हुन् (तस्वीरसहित) काठमाडौं। काठमाडौं महानगरपालिकाको प्रमुखमा निर्वाचित भइसकेपछि बालेन शाहले काठमाडौं महानगरपालिकाको मुहार फेर्दै लगेका छन्। काठमाडौं सडकमा फुटपाथ हटाएका मेयर बालेनले यतिबेला महानगरभित्रका विभिन्न सडकमा गमलामा फूल रोपेरा सजाएका छन्। काठमाडौंका व्यस्त देखिने सडक किनारामा महानगरले शनिबारदेखि रंगीचंगी फूलका गमलाहरू राखेको हो। महानगरपालिकाले सुरु गरेको हरियाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत विभिन्न फूल र विरुवाहरू रोपेका गमलाहरू राखेको हो। बिजुलीबजार, प्रदर्शनीमार्ग र शंकरदेव क्षेत्रका सडकमा राखिएका गमलाहरूले सडकलाई नै सौन्दर्य थपेको छ।
नारायणगढ-मुग्लिन सडक दुइतर्फी सञ्चालन काठमाडाैं। पहिरोका कारण अवरुद्ध नारायगढ-मुग्लिन सडक दुइतर्फी सञ्चालनमा आएको छ। इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार चितवनको इच्छाकामना-५ स्थित तीन नम्बर पुलमा आज बिहान पुनः पहिरो खसेपछि सडक दुइतर्फी अवरुद्ध बनेको थियो। पहिरो पन्छाइ सडक दुइतर्फी सञ्चालन गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए। पहिरोसँगै खसेको ढुंगाले लागेर ना ६ख ७१० नम्बरको ट्रक चालकसमेत घाइते भएका छन्। घाइते चालकको मुग्लिन हाइवे हस्पिटलमा उपचार भइरहेको पनि प्रहरीले जनाएको छ। यसअघि शनिबार रातिदेखि बन्द भएको सडक झण्डै १८ घण्टापछि आइतबार साँझपख मात्रै खुलेको थियो। सोही स्थानमा गत विहीबारदेखि पटक-पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ।
आजको मौसमः मनसुनी वायुकाे प्रभाव कायमै, पाँच प्रदेशमा पानी पर्ने संभावना काठमाडाैं। हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी र मधेश प्रदेशको एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। राति भने देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, गण्डकी र लुम्बिनी प्रदेशको एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। मधेश प्रदेश लगायत बागमती र कोशी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, कोशी र मधेश प्रदेशको एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेकोले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने देखिन्छ। तसर्थ भारी वर्षा, मेघ-गर्जन चट्याङ, गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुराेध गरेकाे छ।
नेपालसँग दौत्य सम्बन्ध भएका मुलुकमा नेपाली श्रमिक जान पाउनुपर्छः श्रममन्त्री भण्डारी काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरद्सिंह भण्डारीले नेपालसँग दौत्य सम्बन्ध भएका मुलुकमा नेपाली श्रमिक जान पाउनुपर्ने बताएका छन्। नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको ३१औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले नेपालसँग दौत्य सम्बन्ध भएका मुलुकहरूसँग श्रम सम्झौता गरी नेपाली श्रमिकहरू जान पाउनुपर्ने मान्यताका साथ सरकारले काम गरिरहेको बताएका हुन्। “पछिल्लो समय धेरै देशमा नेपाली कामदार जान नपाउने व्यवस्था गरिएको छ, अब सरकारले दौत्य सम्बन्ध भएका देशमा श्रम सम्झौता गरी श्रमिकहरू जान पाउनुपर्ने मान्यताअनुसार काम गर्न लागेको छ”, उनले भने। उनले घरेलु कामदारका विषयमा धेरै कुराहरू उठेको भन्दै वैदेशिक रोजगारीमा जाने घरेलु कामदारलाई कसरी सुरक्षित बनाउने विषयमा सरकार गम्भीर रहेको बताए । मन्त्री भण्डारीले म्यानपावरले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूसँग लिने १० हजार सेवा शुल्कका बारेमा सरकारले छानबिन गर्ने बताए । उनले वैदेशिक रोजगारीका क्षेत्रमा रहेका समस्या समाधान गर्ने बाटोमा सरकार लागेको बताए। नेपालबाट अब बिना सीपको श्रम शक्ति नपठाउने अठोट सरकारले लिनुपर्ने अवस्था आएको मन्त्री भण्डारीले बताए । विदेशमा नेपालबाट पठाउने श्रमिकलाई केही न केही सीप सिकाएर मात्रै पठाउन आवश्यक रहेको उनको भनाइ थियो । मन्त्री भण्डारीले दक्ष र सीप भएका नेपाली श्रमिक वैदेशिक रोजगारीमा पठाउने विषयमा सरकार निजी क्षेत्रसँग मिलेर काम गर्ने स्पष्ट पारे । सरकारले कुनै पनि देशसँग हुने श्रम सम्झौताको विषयमा कानून, प्रणाली र सामाजिक सुरक्षालाई मध्यनजर राख्नुपर्ने उनको भनाइ थियो ।
वैदेशिक रोजगारमा पठाईदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ काठमाडौं। मौरिसस पठाइदिन्छु भन्‍दै चार लाख भन्दा धेरै रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा गोलबजार नगरपालिका ६ स्थाई घर भई हाल काठमाडौंको वडा नं १६ वनस्थली बस्ने ४४ वर्षीय यम बहादुर नेपाली रहेका छन् । उनले मौरिसस पठाइदिन्छु भन्दै ४ लाख ५० हजार रकम ठगी गरेको प्रहरीले जनाएको छ । नेपालीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वनस्थली ढुंगेधाराबाट पक्राउ गरेको हो । पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।
सोमबार बन्दीप्रत्यक्षीकरणको मुद्दामा बाहेक बहस नगर्ने बारको घोषणा काठमाडौं। नेपाल बार एसोसिएसनले अदालतभित्रै कर्मचारी कुटेको आरोपमा कानुन व्यवसायीलाई पक्राउ गरिएको विरोधमा सोमबार देशभर बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दामा बहस पैरवी नगर्ने जनाएको छ । बारका अध्यक्ष गोपालकृष्ण घिमिरले आज जारी गरेको प्रेस विज्ञप्तिमा यही असार १८ गते दशैभरिका अदालतहरुमा बन्दीप्रत्यक्षीकरणका मुद्दामा बहस पैरवी नगर्ने उल्लेख छ । जिल्ला अदालत ललितपुरकी कर्मचारी प्रेमिका तामाङलाई हातपात गरेको आरोपमा कानुन व्यवसायी अमिर लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । सोही विरोधमा बारले उक्त घोषणा गरेको हो । बारले थुनामा रहेका अधिवक्ता लामिछानेलाई २४ घण्टाभित्र रिहा गर्नुपर्ने, सिसी टिभी फुटेज सार्वजनिक गर्नुपर्ने, लामिछानेले दिएको जाहेरी दर्ता गर्नुपर्नेमा समेत गरेको छ । यही असार १३ गते जिल्ला अदालत ललितपुरमा नासु तामाङलाई काम गरिरहेको अवस्थामा लामिछानेले आक्रमण गरेको भन्दै विरोधस्वरुप देशभरका अदालतका कर्मचारीहरुले आन्दोलनस्वरुप आज तीन घण्टा काम नगरी विरोध जनाएका थिए । लामिछानेविरुद्ध नासु तामाङले घटना भएकै दिन जिल्ला अदालत ललितपुरमा अदालतको अवहेलनामा कारबाही गर्न माग गर्दै निवेदन दिएपछि अधिवक्ता लामिछानेलाई पक्राउ गरिएको थियो ।
मुग्लिनको पहिरोमा अलपत्र यात्रुलाई खाजा र पानी वितरण मुग्लिन। पहिराका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएपछि अलपत्र परेका यात्रुहरूलाई उद्योग वाणिज्य सङ्घ मुग्लिन र होटल सङ्घ मुग्लिनले खाजा र पानी वितरण गरेका छन् । ती संस्थाले चाउचाउ, चिउरा र मिनरल वाटर निःशुल्क वितरण गरेका हुन् । ती दुई संस्थाको नेतृत्वमा मुग्लिनका स्थानीय व्यवसायीबाट सहयोग जुटाई यात्रुहरूलाई खाजा र पानी वितरण गरिएको उद्योग वाणिज्य सङ्घ मुग्लिनका अध्यक्ष कल्याण गुभाजुले बताए । केही यात्रुहरूले सो अभियानमा साथ दिएको उनले बताए। यसैबीच मुग्लिनका होटलहरूमा अनुगमन गरिएको छ । यात्रुहरूबाट होटलले खाना तथा खाजाको मूल्य महँगो लिएको भन्ने गुनासो आएपछि अनुगमन गरिएको होटल सङ्घ मुग्लिनका अध्यक्ष राम श्रेष्ठले बताए। मुग्लिनका सबै होटलमा मूल्य सूची रहेकाले यात्रुहरू ठगिन नपर्ने सङ्घका अध्यक्ष श्रेष्ठले बताए । अनुगमनका क्रममा कतिपय होटलले मूल्य सूचीभन्दा कम मूल्यमा खाना खुवाएको समेत भेटिएको उनले बताए । उनले भने, “केही यात्रुबाट खाना महँगो भयो भन्ने गुनासो आएपछि हामीले अनुगमन गरेका छौँ, सबै होटलमा मूल्य सूची राखिएको छ, कतिपय होटलले मूल्य सूचीभन्दा कममा खाना खुवाएका छन्, हरेक होटलमा मूल्य सूची भएकाले यात्रुहरू ठगिन पर्दैन ।” कुनै होटलले मूल्य सूचीभन्दा बढी मूल्य लिए होटल सङ्घ मुग्लिनमा जानकारी गराउन उनले आग्रह गरे। मुग्लिनमा होटल सङ्घमा दर्ता भएका मात्र ४७ वटा होटल छन् । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना–५ स्थित तीन नम्बर पुलमा गए राति साढे ११ बजे पहिरो खसी सडक अवरुद्ध भएपछि यात्रुहरू अलपत्र परेका छन् । गत बिहीबारदेखि सोही स्थानमा पटक–पटक पहिरो खस्दा यात्रुले सास्ती बेहोर्दै आएका छन् । यो सडक हुँदै दैनिक औसत १० हजार सवारी साधन आउजाउ गर्ने गर्छन् ।
काठमाडौं महानगरले १६ हजार पाँच सय अनधिकृत संरचना हटायो काठमाडौं। काठमाडौं महानगरपालिकाले गत भदौ ७ गतेदेखि हालसम्मको अवधिमा १६ हजार पाँच सय ६० स्थानका अवैधानिकरूपमा निर्माण गरिएका संरचना हटाएको छ । कामपाले अवैधानिकरूपमा निर्माण गरिएको संरचना हटाउने काम गत भदौ ७ गतेदेखि सुरु गरेको हो । यस अवधिमै ९५ हजार पाँच सय ३८ वर्गफिट भूमिगत क्षेत्रलाई पार्किङमा रूपान्तरण, दुई सय ३१ अनधिकृत सवारी वर्कसपलाई कारबाही र ९५ हजार पाँच सय ३८ वर्गफिट भूमिगत क्षेत्रलाई पार्किङमा रूपान्तरण गरेको छ । जथाभावी रोकेर राखिएको १६ हजार सात सय ५७ सवारीलाई नियन्त्रणमा लिइएको कामपाले जानकारी दिएको छ । निर्वाचनको बेला भएको घोषणाअनुसार काम गर्ने क्रममा यी उपलब्धिहरू प्राप्त भएको कामपा जनप्रतिनिधिको भनाइ छ । सुरक्षा र पैदल यात्रीलाई सहजता प्रदान गर्नका लागि कामपाले यस अवधिमा एक हजार सात सय स्मार्ट सडक बत्ती जडान गरेको छ । सात किलोमिटर नयाँ ढल निर्माण एक हजार ५०० मिटर फुटपाथ निर्माण भएको छ ।
विमानस्थल भन्सार कार्यालयको प्रष्ट्रिकरण- विदेशबाट मोबाइल ल्याउँदा नियमानुसार नै शुल्क लिइएको छ काठमाडौं। कोरियाबाट आएका एक युवाले आफ्नो साथमा ल्याएको मोबाइलमा भन्सार शुल्क लिएको सन्दर्भ जोडेर सामाजिक सञ्जालार्फत सार्वजनिक गरेपछि त्यस विषयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले स्पष्ट पार्दै नियमानुसार कर लिएको जानकारी गराएको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रवक्ता अम्बिकाप्रसाद खनालले यसरी आउँदा नियमानुसार छुट सुविधा पाएर पनि बढी ल्याइएको मोबाइलमा मात्रै कर लाग्ने हुँदा ती युवाको हकमा पनि सोही गरिएको जानकारी दिए । कानुनले दिएको सुविधा प्राप्त गरेर पनि बढी मोबाइल ल्याइएको पाइएपछि कानुनले तोकेअनुसार नै कर लिएर पठाइएको पनि उनले बताए । प्रवक्ता खनालले सरकारले तोकेअनुसार दुईवटा मोबाइल ल्याउनका लागि छुट रहेको र त्यसभन्दा बढी ल्याउनेको हकमा मात्रै नियमानुसार भन्सार शुल्क लिइने पनि प्रस्ट पारे। उनले भने, “राजस्वको कुरा नियमानुसार भएको छ । लगेजको कुरा खासमा हाम्रो क्षेत्रभित्र पर्ने विषय पनि होइन ।” यसअघि एउटा मोबाइल ल्याउँदा पनि भन्सार लगाउन लागिएको भन्दै विरोध भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा रोकिएको थियो । पछि भने दुईवटा सम्म ल्याउन पाउने कानुनी व्यवस्था गरिएको हो । खासमा यस्तो छ नियम विदेशबाट फर्कने नेपाली यात्रुले आफूले प्रयोग गरिरहेको मोबाइल साथमा ल्याउँदा भन्सार तिर्नु नपर्ने र श्रम स्वीकृति लिएर लगातार ६ महिनाभन्दा बढी विदेशमा काम गरी फर्किएका यात्रुले आफ्नो साथमा थप एक थान मोबाइल भन्सार नतिरी ल्याउन पाउने व्यवस्था छ । तर यस्तो मोबाइलका लागि भन्सार कार्यालयमा घोषणा गरी भन्सार प्रक्रिया भने पूरा गर्नुपर्ने कार्यालयको सूचनामा उल्लेख छ । यस्तै, सुनको हकमा महिलाको हकमा ५० ग्रामसम्मको सुनका गहनामा भन्सार तिर्नुपर्दैन भने पुरुषको हकमा २५ ग्रामसम्मको सुनको गहनामा भन्सार तिर्नुपर्दैन । एकजना व्यक्तिले त्योबाहेक थप दुई सय ग्राम सुनका गहना भन्सार विन्दुमा महसुल तिरेर साथमा ल्याउन पाउने व्यवस्था छ । तर आकार मात्रै दिएर बनाइएका बेरुवा औँठी, बाला, सिक्रीजस्ता रसायन प्रयोग नगरिएका सुनलाई गहनाको मान्यता नहुने स्पष्ट पारेको छ । यस्तै, टेलिभिजनको हकमा श्रम स्वीकृति लिई लगातार १२ महिना काम गरी फर्कने सामाजिक सुरक्षा कोषमा सूचीकृत भएका नेपाली यात्रुले जुनसुकै आकार प्रकारका टेलिभिजन साथमा ल्याउँदा भन्सार तिर्नुपर्दैन । तर श्रम स्वीकृति नलिएकाको हकमा ३२ इन्चसम्मको टेलिभिजन मात्रै ल्याउन पाउने व्यवस्था रहेको छ । अन्य अवस्थामा भने नियमानुसार भन्सार लाग्ने प्रस्ट पारिएको छ । यो आर्थिक ऐनले तोकेको र राजपत्रमा प्रकाशित झिटी गुन्टासम्बन्धी आदेशको व्यवस्था भएको पनि खनालले जानकारी दिए । उनले यस्ता विषयमा भन्सार कार्यालय सचेत रहेको पनि बताए।
पशुपति क्षेत्रमा साउन महिनाको तयारी सुरु काठमाडौं। पशुपति क्षेत्र विकास कोषले साउन महिनामा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि सहजरूपमा दर्शन गराउन तयारी सुरु गरेको छ । साउन महिना भगवान् शिवको महिना भएकाले विश्वभरबाट लाखौँ भक्तजन पशुपति क्षेत्रमा पूजा आराधना एवं दर्शनका लागि आउने गर्छन् । देश एवं विदेशबाट आउने भक्तजनलाई सहजरूपमा दर्शन गराउन तयारी सुरु गरिएको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिए । यस वर्ष साउनमा अधिकमास परे पनि प्रत्येक वर्ष साउनमा गरिने भगवान् पशुपतिनाथको नित्य एवं नैमित्तिक पूजामा कुनै प्रभाव नपर्ने उनले बताए। भगवान् शिव व्यष्टि र समष्टि दुवैका देवता भएकाले अधिकमासले भगवान् शिवको नित्य पूजामा फरक नपर्ने कोषले जनाएको छ । अपव्यय सबै शिवले नै लिनुहुने भएकाले पनि साउनमा गरिने शिवको पूजा अधिकमासका कारण नरोकिने जनाइएको छ । साउनको पनि सोमबारका दिन पशुपति क्षेत्रमा लाखौँ भक्तजनको भीड लाग्ने गर्छ ।
चितुवा मृत फेला खलङ्गा। दार्चुलाको लेकम गाउँपालिका–१ दानुगाड खोला किनारमा आज चितुवा मृत फेला परेको छ । स्थानीयले खोला किनारमा चितुवा मरेको देखेपछि जिल्ला प्रहरी कार्यालयलाई खबर गरेका थिए । खबर पाएपछि डिभिजन वन कार्यालयका कर्मचारी र प्रहरीको टोली घटनास्थलमा गएको वन कार्यालयका निमित्त प्रमुख प्रमानन्द कुँवरले जानकारी दिए। घटनाको बारेमा थप अनुसन्धान भइरहेको डिभिजन वन कार्यालयले जनाएको छ ।
नारायणगढ-मुग्लिन सडक सुचारु काठमाडौं। अवरुद्ध नारायणगढ-मुग्लिन सडक सुचारु भएको छ। चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित मुग्लिन-नारायणगढ खण्डको तीन किलोमा गएको पहिराले सडक दुईतर्फी अवरुद्ध बनेको थियो। सडकको पहिारो हटेपछि तीन बजेदेखि एकतर्फी रुपमा सवारी आवागमन सुरु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ। सोही स्थानमा गत बिहीबारदेखि पटक-पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ। यो सडक हुँदै दैनिक औसतमा १० हजार सवारीसाधन आउजाउ गर्ने गर्दछन्। पटक-पटक सडक बन्द हुँदा पूर्व र पश्चिम हुँदै काठमाडौं ओहोरदोहोर गर्ने यात्रु बढी मर्कामा परेका छन्।
नौ हजार पाँच सय ९० जना कर्मचारीले बुझाएनन् सम्पत्ति विवरण काठमाडौं। आर्थिक वर्ष २०७८/७९ मा सङ्घीय तथा प्रदेश सरकारका विभिन्न निकायमा कार्यरत नौँ हजार पाँच सय ९० कर्मचारीले सम्पत्ति विवरण बुझाएका छैनन्। सम्पत्ति विवरण नबुझाउने ती कर्मचारीलाई कारबाही गर्न सिफारिशसहित राष्ट्रिय सतर्कता केन्द्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रतिवेदनसमेत बुझाइसकेको जनाइएको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० बमोजिम सम्पत्ति विवरण पेस नगर्ने नौँ हजार पाँच सय ९० पदाधिकारी एवं कर्मचारीलाई राष्ट्रिय सतर्कता केन्द्र (कार्यसञ्चालन) नियमावली, २०६५ को नियम १० ९२० कमोजिम रु पाँच हजार जरिवाना समेतका लागि आयोगलाई पत्रलेखी पठाइएको सतर्कता केन्द्रका सूचना अधिकारी तथा उपसचिव हरिप्रसाद शर्माले जानकारी दिए। उनका अनुसार निजामती कर्मचारीका तीन हजार चार सय ५३, नेपाल प्रहरीका एक सय १३, शिक्षक एक हजार एक सय ५८, राजनीतिक नियुक्ति तथा करारतर्फका एक हजार नौँ सय २२ रहेका छन् । यसैगरी प्रदेशतर्फका एक हजार २७ तथा स्थानीय तहका एक हजार नौँ सय १७ जनाले सम्पत्ति विवरण बुझाएका छैनन् ।
काठमाडौँबाट जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ काठमाडौँ। काठमाडौंबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ। महानगरपालिका-१८ नरदेबी बस्ने बिनिता पौडेलको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने  ७४ वर्षीय चौथिनारायण महर्जन समेत ८ जनालाई  प्रहरीले पक्राउ गरेको हो। पौडेलको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १५ हजार २ सय १० रूपैयाँ र  ४ बुक तास सहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
मुग्लिन-नारायणगढ खण्डको पहिरोले सम्झाउँछ घुमाउनेको अलपत्र पुल तनहुँ। विगत केही दिनयता मुग्लिन–नारायणगढ सडकमा दिनहुँ पहिरो झर्दा सर्वसाधारणको यात्रा कष्टकर भइरहेको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित ३ नम्बर पुलमा पटकपटक झरेको पहिराले उक्त खण्ड अवरुद्ध हुँदा यात्रु मारमा परेका छन् । यो ठाउँमा गइरहेको पहिरोले तनहुँको आँबुखैरेनी गाउँपालिका र भरतपुर महानगरपालिका जोड्ने घुमाउनेको अलपत्र पुललाई फेरि एकपटक सम्झाएको छ।आँबुखैरेनी–५ र भरतपुर–२९ घुमाउने जोड्ने त्रिशूली नदीमाथिको घुमाउनेमा सम्झौताअनुसार काम भएको भए यतिबेला पक्की पुल बनिसक्थ्यो । पुल बनेको भए यतिबेला पहिराका कारण अलपत्र भएर बस्नुपर्ने अवस्था आउँदैनथ्यो । मुग्लिन–नारायणगढ खण्डको विकल्पका रुपमा सर्वसाधारणले उक्त पुल तरेर बुद्धसिं मार्ग हुँदै दमौली निस्केर गन्तव्यसम्म पुग्न पाउँथे । त्यस्तै पोखरातर्फबाट आउने यात्रु डुम्रे-आँबुखैरेनी नभई बुद्धसिं मार्ग भएर उक्त पुल तरेर भरतपुरको घुमाउने निस्किन पाउँथे । नौ वर्ष अगाडि घुमाउनेमा पुल निर्माण थालिए पनि अहिलेसम्म दुईतिरको भागमा पिल्लर मात्रै ठडिएको छ । उक्त ठाउँमा पुल निर्माण अलपत्र हुँदा मुग्लिन-नारायणगढ खण्डको तीन किलोमा गएको पहिराले घन्टौँसम्म यात्रु अलपत्र पर्नुपर्ने अवस्था आएको युवा अभियन्ता प्रविण पौडेलले बताए। उनले भने, “यात्रु गन्तव्यसम्म जानका लागि घन्टौँ पहिराले थुनिएर अलपत्र बन्नुपरेको छ, घुमाउनेमा पुल बनेको भए वैकल्पिक मार्ग हुँदै यात्रु आवतजावत गर्न पाउँथे।” पौडेलले घुमाउनेको पुल निर्माण सम्पन्न गर्नेतर्फ सरोकारवालाको ध्यान जानुपर्ने बताए। उनले भने, “घुमाउनेको अलपत्र पुल हेरेर चित्त बुझाउनुपर्ने अवस्था छ, पुल बनेको भए आज अलपत्र भएर बस्नुपर्थेन, बुद्धसिं मार्गमा पनि यस अगाडि नै कालोपत्र भइसक्नुपर्ने थियो ।” भरतपुर घर भई दमौलीमा बसोबास गर्दै आएका प्रकाशचन्द्र भट्टराईले उक्त पुललाई समयमै पूरा गर्न सकेको भए मुग्लिन-नारायणगढ खण्डको विकल्पका रुपमा उक्त मार्ग विकास हुने बताए। उनले भने, “यो पुललाई देखाएर धेरैले राजनीति गर्नुभयो, तर ठेकेदारलाई ल्याएर काम गराउनेतिर कसैले पहल गरेनन्।” उनले मोटरसाइकलमार्फत बुद्धसिंह मार्ग हुँदै झोलुङ्गे पुल तरेर यात्रा गर्दै आएका छन्। मुग्लिन–नारायणगढ खण्डमा पहिराले दैनिक राजमार्ग अवरुद्ध हुँदा पुलको दुईतिर ठडिएका पिल्लर हेरेर चित्त बुझाउनुको विकल्पको नभएको उनको भनाइ छ । विसं २०७१ असारमा पुल निर्माणका लागि सम्झौता भएको थियो । मृत सञ्जीवनी निर्माण कम्पनीसँग भएको सम्झौताअनुसार हालसम्म ३० प्रतिशत मात्रै काम भएको छ । सम्झौता भएको लामो समयसम्म पनि पुलले गति लिन नसकेको आँबुखैरेनीका अध्यक्ष शुक्र चुमानले बताए। “निर्माण कम्पनीको ढिलासुस्तीका कारण पुलको कामले गति लिन सकेन, सम्बन्धित निकायमा पनि पटकपटक ध्यानाकर्षण गरायौँ”, चुमानले भने। एक सय पाँच मिटर लम्बाइ रहेको पुलको लागत रु नौ करोड ५६ लाख रहेको छ । बारम्बार समय थप भए पनि पुलको कामले गति लिन नसकेपछि केही समय अगाडि तत्कालीन उपप्रधान तथा भौतिक पूर्वाधार यातायातमन्त्री नारायणकाजी श्रेष्ठले उक्त पुलको स्थलगत अवलोकन गरेका थिए। तनहुँ क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा स्वर्णिम वाग्लेले केही समय अगाडि घुमाउने पुलको अवलोकन गर्दै यसलाई चाँडो निर्माण सम्पन्न गराउन सरकारको ध्यानाकर्षण गर्ने बताएका थिए। गण्डकी प्रदेशलाई चितवनको नारायणगढसम्म जोड्ने सबैभन्दा छोटो दूरीको बुद्धसिंह मार्गको घुमाउनेको उक्त मोटरेवल पुल सडक विभागअन्तर्गतको डिभिजन सडक कार्यालय तनहुँको प्राविधिक सहयोगमा निर्माण गर्न लागिएको हो । उक्त पुलको निर्माण सम्पन्नपश्चात् पोखरा र दमौलीलाई नारायणगढ आउनजान हाल सञ्चालन भइरहेको मुग्लिङ–नारायणगढ सडकभन्दा २३ किलोमिटरको दूरी छोटो पर्छ । घुमाउनेमा मोटरेवल पुल नहुँदा यातायातका साधन तनहुँकै सिमानामा पुगेर फर्कन बाध्य छन् । मोटरसाइकल भने डोहोर्‍याएर  मुग्लिङ–नारायणगढ सडकखण्डसम्म ल्याउन सकिन्छ । पृथ्वीराजमार्गको विकल्पका रुपमा रहेको बुद्धसिंह मार्ग कालोपत्रका लागि काम गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि रु पाँच करोड बजेट विनियोजन गरेको छ । पोखरा–नारायणगढ सडकको विकल्पमा तयार गरिएको बुद्धसिंह मार्गको थप स्तरोन्नति र घुमाउनेमा पुल निर्माण सम्पन्न भएपछि यस क्षेत्रका नागरिकलाई चितवन र तराईका विभिन्न जिल्ला जान समय बचत हुने बुद्धसिंह मार्ग उपभोक्ता समितिका पूर्वअध्यक्ष विश्व बास्तोलाको भनाइ छ। तनहुँको दमौलीबाट घुमाउने घाटसम्म नियमितरुपमा साना बस तथा दुईपाङ्ग्रे सवारीसाधन आउने जाने गरेका छन्। कृष्ण न्यौपाने/रासस
मध्यपहाडी राजमार्गः बिहुँ–घोडाबाँधे खण्डको ठेक्का रद्द गलकोट। ठेकेदारले पटक–पटक अलपत्र पारेपछि मध्यपहाडी पुष्पलाल राजमार्गको बागलुङको बिहुँ खण्डको ठेक्का सम्झौता रद्द गरिएको छ। राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मध्यपहाडी पुष्पलाल राजमार्गअन्तर्गत बिुहँबाट घोडाबाँधेसम्मको १३ किमी सडक पाँचपटकसम्म म्याद थप गर्दा पनि काम गर्न नसक्ने निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द गरिएको मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालयल पर्वतले जनाएको छ। पाँचपटक म्याद थप भइसक्दासमेत असार मसान्तसम्म सडक कालोपत्र गर्नुको सट्टा सडक अलपत्र छाडेर हिँडेको निर्माण व्यवसायीसँगको सम्झौता रद्द गरिएको हो। लोकमार्गअन्तर्गत बागलुङमा पर्ने एक सय ४२ किलोमिटरमध्ये बागलुङ जिल्ला सदरमुकाम खण्डतर्फको जम्मा २५ किलोमिटर सडकखण्डमात्रै कालोपत्र गर्न बाँकी छ। मध्यपहाडी पुष्पलाल राजमार्गअन्तर्गत बागलुङको बिहुँ–घोडाबाँधे खण्डको १२ किमी सडक कालोपत्रको जिम्मा पाएको सूर्य कन्ट्रक्सनसँगको सम्झौता यही साता रद्द गरिएको आयोजना कार्यालय पर्वतका प्रमुख कल्पना अधिकारीले जानकारी दिइन्। “विसं २०७२ मा दुई वर्षलाई ठेक्का सम्झौता भएको थियो, सात वर्ष पूरा भइसक्दासमेत काम भएन, जनताले निरन्तर आन्दोलन गरिरहनुभएको छ, पाँचपटक म्याद थप गर्दा पनि काम नगरेपछि बाध्य भएर ठेक्का रद्द गरिएको छ”, उनले भनिन्, “अब बागलुङबाट बिहुँसम्मको १३ किमी सडकको समेत ठेक्का सम्झौता रद्द गर्ने प्रक्रियामा पुगेका छौँ, निर्माण व्यवसायीको चरम लापरवाहीका कारण बागलुङको दुर्गम गाउँमा राजमार्गको सडक कालोपत्र भए पनि जिल्ला सदरमुकाम खण्डको सडक कालोपत्र नभएर जीर्ण बनेको छ ।” उनका अनुसार निर्माण व्यवसायी अदालत जाने समय बाँकी रहेको र अदालतबाट समेत ठेक्का रद्दलाई निरन्तरता भए एक वर्षभित्रै नयाँ ठेक्कामा जाने तयारी गरिएको छ। बागलुङ बजारबाट घोडाबाँधे सडकको दुवै खण्डमा गरी १३ किमी सडक कालोपत्रका लागि पूर्वाधारसमेत निर्माण नगरेका कारण असारसम्म म्याद भएका दुवै निर्माण कम्पनीलाई सम्झौता रद्द गर्ने गरी प्रक्रिया अगाडि बढाइएकामा उपल्लो खण्ड बिहुँ घोडाबाँधे सडकको सम्झौता रद्द भइसकेको हो। बिहुँका नागरिकले चरणबद्धरूपमा निर्माण व्यवसायीका विरुद्धमा आन्दोलन गरेपछि आयोजनालाई र सरोकारवाला निकायलाई निर्माण व्यवसायीसँगको ठेक्का रद्द गर्न थप दबाब भएको थियो। बाह्र किलोमिटर सडकमध्ये हालसम्म उपल्लो बिहुबाट घोडाबाँधे खण्डमा छ किलोमिटर सडक कालोपत्र सम्पन्न भए पनि पाँचपटक म्याद थप्दासमेत छ किलोमिटर सडक कालोपत्र गर्न अझै बाँकी रहेको थियो। उक्त खण्डको पाँचपटक म्याद थप गर्दा जम्मा ७५ प्रतिशत भौतिक र ७१ प्रतिशत वित्तीय प्रगति भएको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतले जनाएको छ। यस्तै उपल्लाचौरबाट १३ किलोमिटर सडकको भारत/सिद्धिसाई जेभीसँग २०७३ माघमा दुई वर्षमा सक्ने गरी ठेक्का सम्झौता गरिएको थियो। अहिलेसम्म चारपटक म्याद थप गर्दासमेत बल्ल सात किमी सडकमात्रै कालोपत्र गरेको छ भने अझै ६ किमी सडक कालोपत्र गर्न बाँकी रहेकाले उक्त खण्डको समेत ठेक्का रद्द गर्नका लागि आयोजनाले प्रक्रिया थालेको छ। उक्त खण्डको सात वर्षमा ७३ प्रतिशत भौतिक प्रगति र ६९ प्रतिशत आर्थिक प्रगति भएको थियो। उक्त सडकमा पाँच किलोमिटरमा पूर्वाधार निर्माणको कामसमेत बाँकी छ। राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको अक्षते–घोडाबाँधे खण्ड अहिलेसम्म कालोपत्र हुन नसक्दा नागरिकले सास्ती खेप्नुपरेको छ। – रासस
मापदण्डका नाममा सरकारले घाँटी निमोठेको क्रसर व्यवसायीहरुको आरोप महोत्तरी। क्रसर व्यवसायीहरुले सरकारले हेर्ने गलत दृष्टिकोण कै समस्या वनिरहेको गुनासो गरेका छन । नेपाल क्रसर तथा खानि उधोग व्यवसायी संघ मधेश प्रदेशको प्रादेशिक कार्यालय बर्दिबासमा आयोजना भएको पत्रकार सम्मेलनमा व्यवसायीहरुले सवैभन्दा बढी कर तिर्ने क्रसर व्यवसायीहरुलाई विभेदको नीति वनाएको आरोप लगाए । पछिल्लो समय सरकारले तिर्नुपर्ने कर असार मसान्तसम्म तिरि सक्नुपर्ने तर नविकरणको बिषयमा नखुलाए पछी अहिले देशैभरिका व्यवसायीहरु आन्दोलित छन । मापदण्डका नाममा सरकारले व्यवसायीहरुको घाँटी निमोठेको उनीहरुको आरोप छ । ११ पुस, २०७९ मा मन्त्री परिषदको निर्णयमा सरकारले दर्ता भई संचालनमा रहेका तर मापदण्ड लगायतका कारण नविकरण हुन नसकेका क्रसर उधोगको हकमा ति उधोगवाट कानुन वाम्मोजिम लाग्ने कर, दस्तुर लगायतका राजस्व लिएर २०८० असार मसान्तसम्म संचालन गर्न पाउने प्रावधान वनाएको थियो । क्रसर तथा खानि उधोग व्यवसायी संघ महोत्तरीका संयोजक हर्क तामाङ्गले मिडियाले समेत आफुहरुको दुख बुझ्न नसकेको गुनासो गरे । हरेक बिषयमा सरकारलाई कर तिरेको र अवैध उत्तखननलाई कहिल्यै पश्रय नदिएको उनको गुनासो छ । मिडियाले क्रसरका भित्री कथाहरु बुझ्न नसक्दा कतिपय गलत समाचार समेत सम्प्रेषण भएको व्यवसायीहरुको गुनासो छ । क्रसर तथा खानि उधोग व्यवसायी संघ मधेश प्रदेशका उपाध्यक्ष बिनोद साहले मिडियासँग व्यवसायीहरुको दुरी टाढा भएका कारणले पनि कतिपय समाचार गलत गएको हुन सक्ने स्वीकार गरे । आफुहरु सधै चुरे जोगाउने अभियानमा रहेको वताउदै पर्यावरणलाइ असर पर्ने गरी कुनैपनि क्रियाकलाप नगरेको पनि व्यवसायीहरुको तर्क छ ।  प्रकृतिमा उत्पादित वस्तुहरु प्रयोग गर्न सकेमात्र देश विकास हुन सक्ने वताउदै पुर्व उर्जा तथा जलस्रोत मन्त्री सम्भुलाल श्रेष्ठले खनिज पदार्थ मापदण्ड अनुसार गर्ने पर्नेमा जोड दिए । अहिले चुरेमा भू-स्खलन आएको वताउदै चुरेवाट वगेका ढुंगा, माटोले नदीको सतह माथी पुर्र्याउने हुदाँ नदी उत्तखनन जरुरी नै भएको उन्को तर्क छ ।“नदीको सतह माथी पुग्दा कतिपय ठाउँ मरुभूमिकरण समेत वनिरहेको छ, त्यसैले मापदण्डमा आधारित रहेर उत्तखनन गर्ने पर्छ,”उनले भने । सर्लाहीको फुलाजोरमा भएको उत्तखननलाइ श्रेष्ठले उदाहरणको रुपमा प्रस्तुत गरेका छन् । अहिले नेपालभरी क्रसरमा मात्र ६० अर्व लगानी भएको छ भने झन्डै ३० हजारले प्रत्यक्ष रोजगारी पाएका छन ।
नारायणगढ-मुग्लिन सडक दुईतर्फी नै अवरुद्ध, ठूलो पहिरो गएकाले पन्छाउन समय लाग्ने चितवन। नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ। चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित तीन नम्बर पुलमा गए राति पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको हो। अहिले पहिरो पञ्छाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ। पहिरामा विद्युत्को तार रहेको र सो तार हटाएपछि पहिरो पन्छाउन सुरु गरिने इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए। पहिरो हटाउन उपकरण तयारी अवस्था रहेको उनले बताए। सोही स्थानमा गत बिहीबारदेखि पटक-पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ। यो सडक हुँदै दैनिक औसतमा १० हजार सवारीसाधन आउजाउ गर्ने गर्दछन्। पटक-पटक सडक बन्द हुँदा पूर्व र पश्चिम हुँदै काठमाडाैं ओहोरदोहोर गर्ने यात्रु बढी मर्कामा परेका छन्।
आजको मौसमः मनसुनी वायुकाे प्रभाव जारी, सडक तथा हवाइ यातायात प्रभावित हुन सक्ने काठमाडाैं। हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य देखि पूर्णतया बदली रही बाँकी भू-भागमा आँशिक देखि सामान्य बदली रहेको छ ।लुम्बिनी प्रदेशको थोरै स्थानहरुमा र कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ। दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। रहनेछ। कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशको केही र बाँकी प्रदेशको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, लुम्बिनी र सुदुर पश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। राति भने देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी र मधेश प्रदेशको एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। मधेश प्रदेश र कोशी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ। देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, लुम्बिनी र सुदुर पश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेकोले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने देखिन्छ। तसर्थ भारी वर्षा, मेघ-गर्जन/चट्याङ, गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ।
नदिमा डुबेर अत्तरीयामा एक बालकको मृत्यु धनगढी ।  कैलालीमा नदिमा डुबेर एक जना बालकको मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिका –१ वनदेवी टोलका   लोकेन्द्र खडायतका १४ वर्षीय छोरा सागर खडायतको नदिमा डुबेर मृत्यु भएको हो। उनलाई नदिबाट गम्भीर अवस्थामा उद्धार गरिएको इलाका प्रहरी कार्यलय मालाखेतिले जनाएको छ । उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा पठाइएको थियो तर, बालकको उपचारकैक्रममा मृत्यु भएको प्रहरीले जनाएको छ  । अहिले शवलाई पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ। उनलाई  महेन्द्रनगर रोड स्थित गोदावरी नदिमा डुबेको अवस्थामा प्रहरीले फेला पारेको थियो ।
लामिटारमा भेटिएको अजिङ्गर निकुञ्जमा छाडियो मनहरि । मकवानपुरको पश्चिमी क्षेत्रमा पर्ने मनहरि गाउँपालिका-३ स्थित लामिटार सामुदायिक वनमा आज ३३ केजीको अजिङ्गर फेला परेको छ । अजिङ्गरले हाँडीखोलाको लामिटार जङ्गलमा बोका मारेपछि स्थानीयले नियन्त्रणमा लिएर पर्सा राष्ट्रिय निकुञ्जको जिम्मा लगाएका हुन् । “अजिङ्गरले बोका मारेको जानकारी पाएपछि अजिङ्गरलाई नियन्त्रणमा लिएर निकुञ्जको जिम्मा लगाएका हौँ”, स्थानीय श्यामबहादुर राईले भने । लामिटारका लक्ष्मण राईले चराउन लगेको बोकालाई आक्रमण गरेपछि स्थानीय युवाले अजिङ्गर नियन्त्रणमा लिएका थिए । पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र घोषणा भएपछि पहिलोपटक स्थानीय जङ्गलमा अजिङ्गर देखापरेको हो । केही दिनअघि लामिटारका जने राईको खेतमा भेटिएको अजिङ्गरलाई पनि नियन्त्रणमा लिएर निकुञ्जको जिम्मा लगाइएको थियो । पर्सा राष्ट्रिय निकुञ्जअन्तर्गतको लामिटार सेक्टर पोष्टका रेञ्जर विष्णु पौडेलले साढे ३२ किलोको उक्त अजिङ्गरसहित अघिल्लो दिन भेटिएको अजिङ्गरलाई पनि निकुञ्जको ‘कोर एरिया’ मा छाडिएको जानकारी दिए । “अजिङ्गर स्थानीयले नियन्त्रणमा लिएका रहेछन् । त्यहाँबाट उद्धार गरी निकुञ्जको कोर एरियामा छोडेका छौँ”, पौडेलले भने ।
सिरहामा लागु औषधसहित तीन जना पक्राउ सिरहा । सिरहामा लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । सिरहा नगरपालिका– ७ बाट प्रहरीले प्रतिबन्धित लागुऔषध खैरो हेरोइनसहित तीनजनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार सदरमुकामस्थित ट्राफिक चोकबाट ७०।९३ ग्राम खैरो हेरोइन र तौल गर्ने डिजिटल मेसिनसहित तीन युवकलाई पक्राउ गरेको हो। प्रहरी नायव उपरीक्षक रविन्द्रराज पाण्डेका अनुसार पक्राउ पर्नेहरुमा सिरहा– ८ का २० वर्षीय विवेक ठाकुर र १९ वर्षीय मनिष यादव तथा  सिरहा– २० का १९ वर्षीय सत्यनारायण कारक छन्। उनीहरुविरुद्ध सिरहा जिल्ला अदालतबाट शुक्रबार लागुऔषध मुद्दामा १० दिनको म्याद लिएर जिल्ला प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।
संसदीय मामिला पत्रकार समाजको अध्यक्षमा मनोज सत्याल निर्वाचित काठमाडौं। संसदीय मामिला पत्रकार समाजको आठौँ अधिवेशनले मनोज सत्यालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको आज सम्पन्न निर्वाचनबाट उपाध्यक्षमा किरण दाहाल र उपाध्यक्ष (महिला) सृजना घिमिरे, महासचिवमा जयसिंह महरा, सचिवमा गुञ्जनराज गिरी र सचिव (समावेशी) सविता शर्मा, कोषाध्यक्षमा अमुल थापा निर्वाचत भएका छन्। कार्यसमितिको नयाँ सदस्यमा राजु थापा, पुजन आचार्य, कमलराज भट्ट, रघुनाथ बजगाई, बिनोद कटुवाल, शिला तिमिल्सिना सर्वसम्मतरुपमा चनय भएका छन्। त्यसैगरी समावेशी सदस्यमा मीरा बस्नेत र अन्जना लामिछाने विजयी भएका छन्। निर्वाचन समितिका संयोजक टंक पन्तले निर्वाचन परिणाम घोषणा गर्दै नव निर्वाचित पदाधिकारी र सदस्यहरुलाई बधाई तथा शुभकामना दिए। नयाँ कार्यसमितिको दुईवर्षको कार्यकाल हुनेछ । संसद र संसदीय मामिलासम्बन्धी गतिविधिमा कलम चलाउने पत्रकारहरुको साझा संगठनको रुपमा समाज रहेको छ ।
दलित भएको भन्दै घरबाट निकाल्ने घरबेटी पक्राउ तुलसीपुर। दाङमा एक घरबेटीले दलित भएको भन्दै भाडाबाट निकालेपछि ती घरबेटीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजन गौतमका अनुसार घरबेटी घोराही उपमहानगरपालिका–१७ दाङका ताराप्रसाद पोखरेललाई आज पक्राउ गरी अनुसन्धान थालिएको छ । पोखरेलको घरमा बसिरहेका पञ्चल देवल नपा–७ पुल्तोला अछाम हाल घोराही–१७ मा बस्दै आएका महेन्द्र विक र अदानचुली गापा–३ हुम्लाका अङ्गराज नेपालीलाई घर निकाला गरेको प्रहरीले जनाएको छ । “तिमीहरू कामी रहेछौँ, घर बनाएदेखि दलितलाई छिर्न दिएको छैन । तिमीहरू घरमा आएदेखि म बिरामी छु भन्दै घरबाट निकालिदिनुभयो”, पीडित महेन्द्र विककी श्रीमती शान्ति विकले भनिन् । सोही घरमा परियारसँग तीन जना एउटा कोठामा बस्थे भने महेन्द्रको परिवार अर्को कोठामा बस्थे । शुक्रबार साँझ नै घरबेटीले त्यस्तो व्यवहार गरेको प्रहरीले बताएको छ । प्रहरीले जातीय छुवाछूतअन्तर्गत मुद्दा दर्ता गरी कारबाही गर्ने तयारी गरेको छ । घटना बाहिर आएपछि प्रेस सेन्टर दाङ, दलित पत्रकार सङ्घ दाङलगायत विभिन्न सङ्घसंस्थाले विज्ञप्ति जारी गरी विरोध जनाएका छन् । साथै दोषीमाथि कारबाहीको माग गरेका छन् ।
सर्पबाट बच्न मन्त्रालयको आग्रह, सर्पले टोकीहाले के गर्ने? काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्मी र बर्खायाम बढेसँगै तराईमा सर्पदंशबाट बच्न आग्रह गरेको छ। मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले तराई क्षेत्रमा अहिलेको मौसममा सर्प देखिने भएकाले विषालु सर्पबाट जोगिन आग्रह गरेका छन्। राति हिँड्नुपरे टर्च लाइट लिएर हिँड्ने, जुत्ता वा गमबुट लगाउने, खुट्टा राम्ररी छोप्ने बाक्लो पाइन्ट लगाउने, घर वरपरको घाँस झारपात काटेर सफा राख्ने एवं जमिनका दुला टाल्ने गर्नुपर्दछ। यस्तै पराल, दाउरा आदि लिन जाँदा होसियारी अपनाउने, सुत्नुअघि ओछ्यान, खाटमुनि र वरपर राम्ररी हेर्ने, सधैँ झुल टाँगेर सुत्ने गर्न पनि आग्रह गरिएको छ। सर्पले टोकीहाले के गर्ने सर्पले डसेको ठाउँलाई चल्न नदिई स्थिर राख्ने, सर्पले टोकेको ठाउँमा काट्ने, चुस्ने बाँध्ने नगर्ने तथा मल्हम, टोकेको ठाउँमा रासायनिक पदार्थ तातो–चिसो प्रयोग नगर्ने र बिरामीको आत्मविश्वास कायम राख्ने गर्नुपर्दछ। यस्तै धामी–झाँक्रीतिर नलाग्ने, विष सोस्ने कुराको पछि नलाग्ने, सम्भव भएसम्म डस्ने सर्पको पहिचान गर्ने तर नमार्ने, जति सक्दो चाँडो अस्पताल वा सर्प उपचार केन्द्रमा बिरामीलाई पुर्याउनुपर्दछ।
आरन पेसा सङ्कटमा खलङ्गा । शैल्यशिखर नगरपालिका–६ पनेबाज बजार छेउमा जस्तापाताले बार लगाएको एउटा सानो छाप्रो छ । त्यही छाप्रोमा बिहानदेखि साँझसम्म दैनिक जसो भेटिन्छन् ७० वर्षीय पदमे लुहार । उनी एक हातले घन र अर्को हातले पङ्खा घुमाइरहन्छन् । लुहार फलाम सिल्भर र तामाका विभिन्न भाँडाकुँडा बनाउँछन् । बुबा बाजेबाट भाँडाकुँडा बनाउन सिकेका उनले आरन व्यवसाय सञ्चालन गरेको ५२ वर्ष भयो । “यसै पेसाबाट जसोतासो घरखर्च चल्दै आएको छ”, लुहारले भने । आरन पेसा अपनाउँदै आएका लुहार विगतमा निकै दुःख खेप्नु परेको बताउँछन् । केही वर्ष अघिसम्म फलामको काम गर्दा अन्न मात्र दिने गरेकामा पछिल्लो समय त्यसवापत उनले नगद पाउँछन् । यही पैसोले लुहारले छोराछोरीको लत्ताकपडा किन्ने गरेका छन् । “छोराहरुले यो पेसालाई अपनाउन चाहँदैनन्, अब पेशा सङ्कटमा पर्ने चिन्ता छ”, उनी भन्छन् । आरन व्यवसाय सङ्कटमा परेको छ । “बजार अभाव छ, त्यसैले आरन व्यवशाय गाउँघरबाटै हराउँदै गएको छ”, स्थानीय दीपेन्द्र धामीले भने । परम्परागत घरेलु हस्तकलाका सामग्रीको प्रयोग कम हुनुका साथै मेहनत गरेअनुसारको मूल्य नपाउँदा पनि यो पेसा विस्तारै लोप हुँदै गएको छ । आरन व्यवसायी गङ्गराम लोहार यही पेसालाई आधुनिक ढङ्गले व्यावसायिक रुपमा अघि बढाउन सके स्थानीय स्रोतसाधनको प्रयोगबाटै गाउँघरमा रोजगारी सिर्जना गर्न सकिने बताउँछन् । “अहिलेका युवाको यो पेसाप्रति चासो छैन”, उनले भने । पहिला–पहिला गाउँघरमा आरन व्यवसाय गर्नेको सङ्ख्या उल्लेख्य थियो । भाँडाकुँडा बनाउन कोइलाको प्रयोग गरिन्छ । अहिले दाउराको पनि अभाव हुन थालेको छ । स्थानीय गजेन्द्र लुहार भन्छन्– “मैले सानै उमेरदेखि बुबा र बाजेले काम गरेको देखेर सिकेको हुँ, अहिलेका पुस्ताले सिक्न चाहँदैनन्, सिकेर खेर जाँदैन, यसबाट पनि पैसो कमाउन सकिन्छ।” आठ जनाको परिवारको खर्च आरन पेसाबाटै चलाएको लुहारले बताए । सरकारले आरन पेसा लोप हुन नदिन विभिन्न कार्यक्रम ल्याउनुपर्ने उनको माग छ ।
पालिकाका कर्मचारीबाटै ठगिए माछा किसान झापा। कचनकवल गाउँपालिका कर्मचारीले आफूहरुलाई ठगेको भन्दै माछापालक किसानले पालिका अध्यक्षलाई उजुरी दिएका छन् । गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीलाई दिएको उजुरीमा ५० प्रतिशत अनुदानमा वितरण गरेको माछाको भुरामा किसान ठगिएको उल्लेख गरेका छन् । पालिकाले माछापालक किसानलाई एउटा प्याकेटमा एक हजार माछाको मुरा भनेर पाँच सय मात्र दिएर ठगेको उजुरीकर्ताले उजुरीमा जनाएका छन् । माछा पालक भवेश राजवंशी, प्रदीप राजवंशी, कर्णसिंह राजवंशी, अर्जुन राजवंशी, बलाल राजवंशी र कैलाश मण्डलले आफूहरूमाथि ठगी भएको भन्दै अध्यक्ष राजवंशीविरुद्ध उजुरी दिएका हुन् । उनीहरुले माछाको भुराका लागि प्रतिगोटा रू डेढका दरले पालिकामा अग्रिम रकम जम्मा गरेका थिए । गाउँपालिकाले प्रतिगोटा रू तीन पर्ने भनिएको माछाको भुराका लागि रू डेढ कार्यालयका तर्फबाट बेहोर्ने गरी जेठमा सूचना प्रकाशित गरेको थियो । सोही सूचनाका आधारमा निवेदन दिएर रकम जम्मा गरेका ४२ किसानलाई पालिकाले भुरा उपलब्ध गराएको थियो । कचनकवल गाउँपालिकाले पशुपन्छी तथा मत्स्य विकास शाखाको आर्थिक वर्ष २०७९र८० को वार्षिक स्वीकृत कार्यक्रमअनुसार ५० प्रतिशत अनुदानमा कार्प जातको माछाको भुरा वितरण गरेको हो । पालिका अध्यक्ष राजवंशीले भने, “कर्मचारीबाट त्रुटि भएकै हो । सम्बन्धित कर्मचारी र शाखासँग यस विषयमा लिखित जवाफ माग गरिएको छ । कमजोरी गर्नेलाई ढाकछोप गरिन्न, दोष हेरेर कारबाही गर्छौं ।” उनले घटनाको यथार्थ के हो बुझेर चाँडै सार्वजनिक गर्ने बताए ।
अविरल वर्षाका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध रामपुर। अविरल वर्षाका कारण पाल्पाका विभिन्न सडकखण्ड अवरुद्ध बनेका छन्। दुई दिनदेखि परेको वर्षाले सिद्धार्थ राजमार्ग, कालिगण्डकी करिडोर तथा विभिन्न सडकखण्ड बन्द छन्। सिद्धार्थ राजमार्गअन्तर्गत माथागढी गाउँपालिका–१ धैरेनी, बगनासकाली–४ सेरा र रम्भा गाउँपालिका–३ लसुने नजिकै पहिरो खसेको छ। यस्तै कालिगण्डकी करिडोरअन्तर्गत पाल्पाको रम्भा–२ र ३ को सिमानामा रहेको सहर्दीखोला पुल नजिकै पहिरो खसेपछि सडक अवरुद्ध भएको छ। बिहीबार रातिदेखि परेको वर्षाले कालिगण्डकी करिडोर शुक्रबारदेखि अवरुद्ध भएको हो। वर्षाका कारण पहिरो हटाउन समस्या भएको छ। सडकमाथिबाट ढुंगासहित पहिरो खस्ने क्रम जारी रहेको रम्भा–१ का वडाध्यक्ष ईश्वर काफ्लेले बताए। कालिगण्डकी करिडोरअन्तर्गतकै रामपुर नगरपालिका–१ स्याउली बजार र साँखर्दी खोलाको बिच भागमा पहिरो खसेपछि सडक अवरुद्ध भएको ज्ञानमन्जरी प्राविका प्रधानाध्यापक दानस मल्लले बताए। यस्तै पूर्वी पाल्पा जोड्ने आर्यभन्ज्याङ–जब्गादी–रामपुर सडकखण्डका विभिन्न स्थानमा पहिराले सडक अवरुद्ध छ। रामपुर जोड्ने सडक निस्दी–५, ढुंगानाबेँसी नजिकै पहिरो खसेको छ। सडक अवरुद्ध भएपछि यात्रु बीच बाटोमा अलपत्र छन्।
पहिराले नवलपुरका पहाडी क्षेत्रमा यातायात अवरुद्ध त्रिवेणी। नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पहाडी क्षेत्रमा सञ्चालन हुने यातायात पहिराका कारण अवरुद्ध भएको छ। जिल्लाको दलदले–कुमसोत–पोखरी खण्डअन्तर्गत हुप्सेकोट गाउँपालिका–५ पांगेर र पोखरी खण्डमा खसेको पहिराको कारण यातायात अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख गणेश पौडेलले बताए। पानी परिरहेकाले यस खण्डमा तत्काल पहिरो पन्छाएर बाटो खुलाउन समस्या भएको उनले बताए। नवलपुरको पहाडी क्षेत्रलाई जोड्ने मुख्य खण्ड पहिराले अवरुद्ध भएपछि दललदलेबाट पहाडी क्षेत्रमा छुट्ने र पहाडी क्षेत्रबाट दलदलेतर्फ छुट्ने सवारी सञ्चालनमा आउन सकेका छैनन्। पहिराले बाटो अवरुद्ध हुँदा मुख्य राजमार्ग र सदरमुकामसँग पहाडी क्षेत्रको यातायात सम्पर्क टुटेको छ। यसैगरी कालिगण्डकी करिडोरको नवलपुरखण्डसमेत पहिराको कारण अवरुद्ध भएको छ। कालिगण्डकी करिडोरअन्तर्गत बुलिङटार १ र ६ मा पहिरो खसेकाले करिडोर पूर्णरुपमा बन्द भएको प्रमुख पौडेलले बताए। जिल्लाको मुख्य राजमार्ग पूर्व पश्चिम राजमार्गमा भने यातायात सञ्चालनमा कुनै समस्या नरहेको उनले बताए। – रासस
सुनिन छाड्यो असारे भाका अन्नपूर्ण (कास्की)। ‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको बीउ छउञ्जेल जे खानु खाइयो, जे लाउनु लाइयो बाबाको ज्यू छइञ्जेल ।।’ लोकगायिका हरिदेवी कोइरालाको स्वरमा रेहेको यस्तै–यस्तै शब्दमा रोपाइँका बेला खेतका गह्रामा रोपाहारका मुखबाट सुनिन छाडेका छन् । असारे भाका हालेर दिनभर रमाइलो गर्दै खेतमा धानको बीउ रोप्ने चलन थियो । असारे भाका लोप हुने अवस्थामा पुग्दा पोखरा महानगरपालिका वडा नम्बर २५ हेमजाकी खिनी तिमिल्सिना निकै चिन्तित छिन्। शुक्रबार हेमजामा भएको रोपाईं महोत्सवमा खिनी तिमिल्सिना श्वास पुर्‍याइ–नपुर्‍याइ असारे भाका गाउन थालिन् । गीत गाउँदा उनी एक्लै परिन् । आजकल असारे गीत असार महिनामा पनि बिरलै सुनिन्छन् । पहिला असारे गीत असार सुरु हुनेबित्तिकै सुनिथ्यो तर अहिले मध्य असार भइसक्दा पनि असारेगीत नसुनिएको खिनीले बताइन् । पछिल्ला दिनमा बढ्दो आधुनिकतासँगै असारमा पहिलेजस्तो उल्लास पाइन छाडेको उनको भनाइ छ । आजकल मेला हिँड्ने परम्परा कम भएको र असारे गीत गाउने छाडेकाले भाकासमेत लोप भएको बूढापाका बताउँछन् । उमेरले ७१ वर्ष लागेकी उनलाई विमारले छोएपछि केही वर्ष गाउन छाडिन्। नयाँ पिँढीलाई असारे गीत गाउनै आउँदैन । खिनीलाई असरे भाका हराउँछ की भन्ने साह्रै चिन्ता लाग्छ । त्यसैले आफ्नै ठाउँमा आयोजना भएको महोत्सवमा धोको पुगुञ्जेल गाइन् । “म बिरामी भएर गाउन सकिनँ”, खिनी तिमिल्सिनाले भनिन्, “मैले छोडेसी अरुले पनि गाउन छाडे खासमा नजानेर रहेछ ।” बीउ काढ्ने, खेत रोप्ने अनि रमाइलो गर्ने गर्ने हुँदा असारे गीतको रौनक घटेको उनी बताउँछिन्र । पछिल्लो सयममा रोपाइँको क्रममा असारेगीत गाउन छाडिएपछि गीतसँगै टुक्का पनि लोप हुने अवस्थामा पुगेको उनले बताइन्। आजकल रोपाइँको मौलिकता हराउँदै गएकामा पाका नागरिक चिन्तित छन् । कृषिमा यान्त्रिकीकरण र प्रविधिको प्रयोग बढ्दै गएपछि रौथाने प्रविधि लोप हुँदै गएका छन् । हलो–जुवा र गोरुको ठाउँ मिनीट्रिलर हलोले लिएको छ भने असारे गीत पनि सुनिन छाडेको छ । फेरि उनले भाका हाल्न सुरु गरिन्। ‘असार मासको छिपछिपे हिलो, छिः मलाई घिन लायो जेठी र कान्छी नगरे झगडा कान्छीलाई दिम्ला गइरीको खेत, जेठीलाई बगर चुधरी चोलियामै सिलाइ दिउँदा बाहुली पसार पूर्वको ढोका उघारी हेर्दा लाएछ असार’ लोप हुने अवस्थामा पुगेको असारे भाका पुस्तान्तरका लागि तिमिल्सिनाले पहल पनि गरिन् । “अरुलाई सिकाउँछु भन्ने त लाग्छ नि सिकाउन पनि तयार छु”, उनले भनिन्, “अहिलेका केटाकेटी माया पिरतीका गीतभन्दा अरु त गीत नै होइन जस्तो गर्छन् ।” संसार छोडेर जाने बेलामा आफूसँग भएको प्रतिभा पुस्तान्तरण गर्ने उनको रहर छ । शुक्रबार नै पोखरा पर्यटन परिषद्ले आयोजना गरेको १८ औँ असारे रोपाइँ महोत्सवमा पनि असारे गीत वीरलै सुनियो । महोत्सव हेर्न पुगेका युवायुवती हिलो खेल्न व्यस्त भए पनि उनीहरुलाई असारे गीत, धान रोपाइँ र बिउ काट्ने कुनै चिन्ता थिएन् । त्यही हुलमा पोखरा महानगरपालिका–२८ को काफलघारी आमा समूह भने जानी नजानी गीत गाउन सिक्दै थिए । ‘वनमा खेल्ने चरा र चुरी माछी त लेउमा यो ८० सालको रोपाइँ महोत्सव वियजपुर छेवैमा ।। माझठानाको टारी बैदामको बारी नामै छ प्रख्यात आर्वाको घारी रमाइलो गरौँ अहिलेको वर्ष त ।।’ आमा समूहको उद्देश्य पनि हराउँदै गएको असारे भाका जोगाउने भन्ने नै थियो । आमाहरुले जस्तै खाट्टी असारे भाका आफूहरुलाई पनि नआउने काफलघारी आमा समूहकी अध्यक्ष अम्बिका भण्डारीले बताइन् । “असारे गीत पहिलाका बूढाबूढीले जस्तो गाउन जानिँदैन । यो संस्कृति जोगाउनका लागि जानी नजानी गाइएको हो”, उनले भनिन्, “अब आउने पुस्ताका लागि सिकाउन बूढाबूढीलाई भेटेर गाउन लगाएर मोबाइलमा सेभ गरेर राख्ने अनि हामीले सिक्ने छोराछोरीलाई पनि सिकाउने योजना छ ।” धनबहादुर गुरुङ\रासस
गलेश्वर धामलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिँदै गलेश्वर। म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वर धामलाई विश्व सम्पदा सूचीमा राख्न म्याग्दीको बेनी नगरपालिकाले आवश्यक पहल सुरु गरेको छ । बेनी–९ स्थित गलेश्वर धाम स्कन्द पुराण, हिमालय पर्वत, भगवान् शिव र पार्वतीका साथै स्वयं उत्पन्न विशाल ज्योर्तिलिङ्गको महिमा र यिनै विषयसँग सम्बन्धित रहेका कारण विश्वभरि चिनिएको छ । बाबु दक्ष प्रजापतिको यज्ञमा आफ्ना लोग्ने शिवको अपमान गरिएपछि जलिरहेको अग्निमा हाम फालेर आत्महत्या गरेकी सतीदेवीको लाशलाई काँधमा बोकेर हिमालय पर्वततर्फ जाँदै गर्दा गला पतन भएको र त्यस ठाउँको नाम गलेश्वर नामकरण गरिएको स्कन्द पुराणमा उल्लेख छ । लामो खडेरीमा पनि कहिल्यै पानी नसुक्ने र ठूलो वर्षामा पनि पानीको सतह घटबढ नहुने ढुङ्गामा मूल उम्रेर बनेको बराहा पोखरी, विशाल चट्टानमा जग बिना नै निर्माण गरिएको भगवान् शिवजीको मन्दिर, विष्णु मन्दिर, हवन कुण्ड, १०८ शिवलिङ्ग, साँढेका विशाल मूर्ति, घन्टा यहाँका मुख्य आकर्षण हुन् । पछिल्लो समययता गलेश्वरमा भारतीय धार्मिक पर्यटकको पनि सङ्ख्या वृद्धि हुन थालेको छ । कालीगण्डकी र रघुगङ्गा नदीको सङ्गमस्थलमा रहेको गलेश्वर धाममा अहिले उद्यानसहित आवश्यक सम्पूर्ण भौतिक पूर्वाधारसमेत निर्माण भएकाले यस्तो पावन धार्मिकस्थललाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न नगरले समन्वय र पहल गरेको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताए । “गलेश्वर धाम ऐतिहासिक, पर्यटकीय एवं धार्मिकस्थल भएकाले विश्व सम्पदामा सूचीकृतका लागि नगरपालिकाले आवश्यक प्रक्रिया अपनाइ समन्वय र पहल गर्दैछौँ”, नगरप्रमुख केसीले भने । विश्व सम्पदामा सूचीकृत गर्न नगरले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समावेश गरिएको उनले बताए। “गलेश्वर धाम धार्मिक हिसाबले महत्वपूर्णस्थल हो । गलेश्वर पवित्र नदी कालीगण्डकी र रघुगङ्गाका सङ्गमस्थलमा छ । गलेश्वरलाई मुक्तिनाथ प्रवेशद्वारका रुपमा पनि लिने गरिन्छ । विश्व सम्पदा सूचीमा सूचीकृत गरेर गलेश्वर क्षेत्रको धार्मिक महत्वको प्रचारप्रसार र संरक्षण गर्ने हाम्रो योजना छ”, उनले भने। गलेश्वर मन्दिर प्रसिद्ध मुक्तिनाथ मन्दिरको प्रवेशद्वारमा रहेको धार्मिक तीर्थस्थल हो । गलेश्वरधाम एउटै चक्रशिलामा अवस्थित छ । उन्नाइसौँ शताब्दीको अन्त्यतिर गलेश्वर बाबा नाम गरेका एक जना साधुले सानो कुटी र सानो कच्ची मन्दिर बनाई त्यस क्षेत्रमा बस्न थालेपछि गलेश्वर तीर्थस्थलको रुपमा चिनिँदै जान थालेको भनाइ छ । यस्तो छ गलेश्वर धामको महत्व र इतिहास गलेश्वर मन्दिर प्रसिद्ध मुक्तिनाथ मन्दिरको प्रवेशद्वारमा रहेको धार्मिक तीर्थस्थल हो । म्याग्दी जिल्लाको बेनी नगरपालिका–९, गलेश्वरमा रहेको गलेश्वरधाम एउटै चक्रशिलामा अवस्थित छ । म्याग्दीको उत्तरी भेगमा अवस्थित कालीगण्डकी नदीका वारी र पारीका केही साविकका गाविस र मुस्ताङ जिल्लालाई अन्नपूर्ण संरक्षण क्षेत्र घोषणा गरिएपछि गलेश्वर पर्यटकीय क्षेत्रको प्रवेशद्वारको रुपमा समेत परिचित छ । गलेश्वर धामको इतिहास स्कन्द पुराणसँग, आर्थिक इतिहास उत्तरमा तिब्बत र दक्षिणमा भारतसँग जोडिएको छ । उन्नाइसौँ शताब्दीको अन्त्यतिर गलेश्वर बाबा नाम गरेका एक जना साधुले सानो कुटी र सानो कच्ची मन्दिर बनाई त्यस क्षेत्रमा बस्न थालेपछि गलेश्वर तीर्थस्थलको रुपमा चिनिँदै जान थालेको बताइन्छ । त्यसैगरी आर्थिक दृष्टिकोणले पनि गलेश्वर ऐतिहासिकस्थल भएको इतिहासकारले बताएका छन् । उन्नाइसौँँ शताब्दीको अन्त्यताका गलेश्वर म्याग्दीका उत्तरी क्षेत्रको साथै उत्तरमा भोट र दक्षिणमा भारतीय व्यापारीको समेत सम्पर्क हुने ठाउँको रुपमा चिनिने गरेको म्याग्दीका इतिहासकार चन्द्रप्रकाश बानियाँद्वारा लिखित विभिन्न लेखमा चर्चा गरिएको छ । यो क्रम बेनी जोमसोम सडक विस्तार नहोञ्जेलसम्म जारी रहेको थियो । बाबु दक्ष प्रजापतिको यज्ञमा आफ्ना लोग्ने शिवको अपमान गरिएपछि जलिरहेको अग्निमा हाम फालेर आत्महत्या गरेकी सतीदेवीको लाशलाई काँधमा बोकेर हिमालय पर्वततर्फ जाँदै गर्दा गला पतन भएको र त्यस ठाउँको नाम गलेश्वर नामकरण गरिएको स्कन्द पुराणमा उल्लेख छ । लामो खडेरीमा पनि कहिल्यै पानी नसुक्ने र ठूलो वर्षामा पनि पानीको सतह घटबढ नहुने ढुङ्गामा मूल उम्रेर बनेको बराहा पोखरी, जडभरत गुफा, विशाल चट्टानमा जग बिना नै निर्माण गरिएको भगवान शिवजीको भव्य मन्दिर, विष्णु मन्दिर, हवन कुण्ड, १०८ शिवलिङ्ग, साँढेका विशाल मूर्ति घन्टा यहाँका मुख्य आकर्षण हुन् । पूर्वपट्टि कालीगण्डकी नदी, दक्षिणतर्फ बेनी बजार, उत्तरमा मुक्तिनाथ र पश्चिमतर्फ रावणको जन्मस्थान मानिने पुलस्त्य आश्रमको बीचमा अवस्थित गलेश्वर क्षेत्र अपार पर्यटकीय सम्भावना बोकेको क्षेत्र हुँदाहुँदै पनि सरकारले खासै ध्यान दिन नसकेको गुनासो स्थानीय बासिन्दाको रहेको छ । म्याग्दीको सदरमुकाम बेनी बजारदेखि तीन किलोमिटर उत्तरमा अवस्थित गलेश्वर धाम रहेको छ ।
आजको मौसमः देशैभरी पानी पर्ने काठमाडाैं। हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आँशिकदेखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर सामान्य देखि पूर्णतया बदली रहनेछ। गण्डकी, लुम्बिनी , कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै गण्डकी , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै तथा बाँकी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ। राति भने देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै लुम्बिनी र सुदुर पश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै गण्डकी , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै तथा बाँकी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेकोले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने देखिन्छ। तसर्थ भारी वर्षा, मेघ-गर्जन/चट्याङ, हावा हुरी, गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुराेध गरेकाे छ।
खोलामा पौडी खेल्ने क्रममा डुबेर दोलखामा युवकको मृत्यु दोलखा । दोलखाको त्रिवेणीघाट नजिकैको चर्नावती खोलामा पौडने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ । भिमेश्वोर वडा नम्बर ६ का रोशन श्रेष्ठको शुक्रबार दिउँसो पौडी खेल्ने क्रममा एक्कासी डुबेर मृत्यु भएको प्रहरीले जनाएको हो । अन्दाजी १९ वर्षका उनी साथीहरूसँग दिउँसो १ बजेतिर पौडी खेल्न खोला जाने योजना बनाएका थिए । त्यसपछि उनी साथीहरूसँग खोलामा पौडी खेल्न गएका थिए । पौडी खेल्दा खेल्दै उनलाई खोलामा डुबेको देखेपछि उनलाई साथीहरूले बचाउन प्रयास गर्दा पनि नसकेको साथीहरूहरूले बताएको जिल्ला प्रहरी कार्यलय दोलखाका प्रहरी प्रवक्ता निरीक्षक राजेश सिग्देलले बताएका छ्न् । अहिले उन्को शव पोस्टमार्टमका लागि पशुपति मेमोरियल अस्पताल चरिकोट लगिएको छ । सोधपुछका लागि प्रहरीले साथीहरूलाई नियन्त्रणमा लिएको छ भने उनको बारेमा थप जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ काठमाडौं । माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा झापा अर्जुनधारा नगरपालिका–३ मदनपुर घर भई काठमाडौं टोखा नगरपालिका–३ धापासी बस्ने ३८ वर्षीय युवराज लिम्बुलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लिम्बुले १ जनालाई वैदेशिक रोजगारका लागि माल्टा पठाई पानीजहाजमा मासिक १ लाख रुपैयाँभन्दा बढी तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी ६ लाख ३० हजार रूपैयाँ लिई सम्पर्क बिहीन भई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौं महानगरपालिका–५ कालोपुलबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
लापसे गर्ने चार सवारी चालक पक्राउ काठमाडौं । लागूपदार्थ सेवन गरी सवारी चलाउने चार चालक पक्राउ परेका छन् ।  भक्तपुरको जगातीमा शुक्रबार गरिएको चेकिङका क्रममा लागूपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका चार चालकलाई  ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा आउनेमा बागमती प्रदेश ०१–००६ ख १८ ०२ नम्बरको टिपर चालक काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका ४ का ३२ वर्षीय जीवन तामाङ, बा २१ च ६५९ नम्बरको जीप चालक ललितपुरको इमाडोलका २३ वर्षीय विकेश विष्ट, बा ११ च ३९ ४० नम्बरको कार चालक काठमाडौंको जोरपाटीका २६ वर्षीय सनम थापा र प्रदेश ३–०१–०२३ च १४ १२ नम्बरको पिकअप चालक काठमाडौं महानगरपालिका ३५ का ३५ वर्षीय माधव गुरुङ रहेका छन् । नियन्त्रणमा लिएका ‍ चारैजनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त जगातीमा राखिएको छ ।
जबरजस्ती करणी आरोपमा पक्राउ परेका दार्चुलाका वडाध्यक्ष धामी कारागार चलान दार्चुला । करणी आरोपमा पक्राउ परेका दार्चुलाका वडाध्यक्षलाई कारागार चलान गरिएको छ । जबरजस्ती करणी गरेको आरोप लागेका दार्चुलाको मालिकार्जुन गाउँपालिका–३ का वडा अध्यक्ष मदनसिंह धामी पुर्पक्षका लागि कारागार चलान भएका हुन् । अध्यक्ष धामीमाथि गाउँकै एक महिलालाई जबरजस्तीकरणी गरेको आरोप लागेका थियो । अदालतको आदेश अनुसार बुधवार कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले बताएको छ । महिलालाई जबरजस्तीकरणी गरेको कुरा बाहिर आएपछि वडा अध्यक्ष धामीलाई गत जेठ २४ गते जिल्ला सदरमुकाम खलंगाबाट प्रहरीले प्रकाउ गरेको थियो । प्रहरीले वडा अध्यक्ष धामीलाई २१ दिन सम्म हिरासतमा राखेर अनुसन्धान गरी सरकारी वकिलको कार्यालयमा पेश गरेको थियो । सरकारी वकिलको कार्यालयले प्रहरीले तयार पारेको मिसिलका आधारमा धामीमाथी अभियोग लगाई अदालत पेश गरेपछि जिल्ला अदालत दार्चुलाले अध्यक्ष धामीलाई तत्काल पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो ।
पप्पु कन्स्ट्रक्सनका सञ्चालक रौनियार पक्राउ काठमाडौं। पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई काठमाडौंबाट पक्राउ गरेको हो। ठगी मुद्दामा पूर्वसांसदसमेत रहेका रौनियार र उनका छोरा सुमित रौनियारविरूद्ध जिल्ला अदालत बाँकेले गत वैशाख १० गते पक्राउ गर्न आदेश जारी गरेको थियो। उनलाई थप अनुसन्धानका लागि प्रहरीले बाँके पठाउने तयारी गरेको छ। उनी निर्माण ठेक्का पाएका पुलदेखि अन्य संरचना मापदण्ड पुरा नगरेको भन्दै विवादमा तानिएका थिए । उनीविरुद्ध विषेश अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएपछि सांसदबाट स्वतः निलम्बित भएका थिए । बर्दियाको जब्दिघाटमा बबई नदीमाथि पुल निर्माणका क्रममा अनियमितता भएको ठहर गर्दै अख्तियारले सांसद रौनियारसहित उनका छोरा सुमित र अन्य १० जना विरुद्ध मुद्दा दायर गरेको हो ।
करेन्ट लागेर मजदुरको मृत्यु सुरुंगा। झापाको बिर्तामोडमा करेन्ट लागेर आज एक मजदुरको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा बिर्तामोड नगरपालिका–३ निवासी ४० वर्षीय धनबहादुर राजवंशी रहेका छन्। आज घैलाडुब्बा–बिर्ताबजार सडक खण्डअन्तर्गत बिर्तामोड–२ स्थित कच्छुबारीमा बाटोको प्लम हाल्नका लागि सडकमा जमेको पानी मोटर लगाएर फ्याँक्ने क्रममा राजवंशीलाई करेन्ट लागेको थियो। सडक निर्माणको क्रममा कटेन्ट लाग्दा राजवंशीको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक खगेन्द्र रिजालले जानकारी दिए।
विषालु च्याउ खाँदा श्रीमतीको मृत्यु, श्रीमान् सिकिस्त ओखलढुंगा। विषालु च्याउ खाँदा ओखलढुंगामा एक जनाको मृत्यु भएको छ। बारीमा पलाएको च्याउ खाँदा चिशङ्खुगढी गाउँपालिका–७ डाँडागाउँकी २४ वर्षीया कल्पना शर्माको ज्यान गएको हो। च्याउ खाँदा कल्पनाका श्रीमान् पर्शुराम खतिवडा सिकिस्त बिरामी भएका छन्। यही असार ७ गते बारीमा पलाएको च्याउ पकाएर खाँदा दुवै जना बिरामी परेका थिए। जंगली च्याउ खाएर गम्भीर बिरामी परेका दम्पतीलाई उपचारका लागि नभएपछि काठमाडौँको टिचिङ अस्पताल पठाइएको थियो। अस्पतालमा उपचाररत श्रीमती शर्माको बिहीबार राति मृत्यु भएको र श्रीमान् पर्शुराम खतिवडाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए। जिल्लामा वर्षाको समयमा च्याउ जताततै उम्रिने गरेको छ। खेतबारी र जंगलमा उम्रिने विभिन्न प्रकारको च्याउमध्ये विषालु च्याउ छुट्याउन नसक्दा त्यस्तो च्याउ खाएकै कारण बिरामी पर्ने र मृत्युसमेत हुने गरेको छ। गत वर्ष जिल्लाको चम्पादेवीमा दुई जनाको जंगली च्याउ सेवन गरेकै कारण मृत्यु भएको थियो।
पाटेबाघको छाला र वन्यजन्तुको हड्डीसहित तीन जना पक्राउ बाँके। कोहलपुर नगरपालिका-११ हाम्रो बजारस्थितबाट पाटेबाघको छाला र वन्यजन्तुको हड्डीसहित तीन जनालाई प्रहारीले पक्राउ गरेको छ।  प्रहरीले  ९ फिट ५ इन्च लामो पाटेबाघको छाला र १ सय ३० वटा हड्डी गरी जम्मा ६ केजी ८ सय १८ ग्राम वन्यजन्तुको हड्डीसहित तीन जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा दैलेख ठाटिकाँध गाउँपालिका-४ बस्ने ३० वर्षीय सुनिल चुनारा, दैलेख भगवतीमाई गाउँपालिका-५ बस्ने ४० वर्षीय नविन कुमार कसेरा र अछाम पन्चदेवल नगरपालिका-२ बस्ने ३६ वर्षीय टोपेन्द्र शाही रहेका छन् । सो ठाउँस्थित पूर्व पश्चिम राजमार्ग सडक खण्डमा बन्यजन्तुको हड्डी र पाटेबाघको छाला ओसार पसार गरिरहेको भन्ने सूचनाको आधारमा लुम्बिनी प्रदेश अनुसन्धान प्रहरी ब्यूरो र ईलाका प्रहरी कार्यालय कोहलपुरबाट संयुक्त रुपमा खटिएको प्रहरीले शंकास्पद रुपमा हिँडिरहेका उनीहरुलाई जाँच गर्ने क्रममा उक्त छाला र हड्डीसहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
शंखमुलबाट जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ काठमाडौँ। शंखमुलबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १० जनालाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका-१० शंखमुल बस्ने सीता बस्नेतको घरमा जुवातास खेलिरहेको अवस्थामा नुवाकोट शिवपुरी गाउँपालिका-५ घर भई हाल काठमाडौं धुमबराही बस्ने ३५ वर्षीय लक्ष्मण श्रेष्ठ समेत १० जनालाई प्रहरीले पक्राउ गरेको हो। बस्नेतको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ६५ हजार १ सय २० रूपैयाँ र १० बुक ताससहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
असार १५ को पहिचान : दही र चिउरा भक्तपुर। भक्तपुरमा दही कान्छाले परिचत जगाती चोकमा जय शम्भु जुजु सेन्टरका सञ्चालक सिद्धिराम त्यातलाई आज बिहानैदेखि भ्याइनभ्याइ छ। आज धान दिवस अर्थात् असार १५ दही ताइचिन चिउरा खाने दिन, बिहान ५ बजेदेखि नै पसलमा ग्राहक आउन थालेपछि दही बनाउन र बिक्री गर्न भ्याइनभ्याइ भएको हो। त्यसो त आज मात्रै होइन, असार १५ नजिकिएसँगै विगत चार दिनदेखि दही बनाउन र बिक्री गर्ने चटारोले दही कान्छालाई आएको अर्डर पूरा गर्न पनि मुश्किल परेको छ। दही कान्छा अर्थात त्यात भन्छन्, “आजका लागि काठमाडौं उपत्यकाका धेरै ठाउँबाट दहीको माग आएको छ, त्यसमाथि पनि बिहानैदेखि भक्तपुरवासी दही लिन आइरहनुभएको छ। दैनिक एक हजार लिटर दूधको दही बिक्री गर्दै आएपछि विगत तीनदिनदेखि दैनिक दुई हजार पाँच सय हाराहारी र आज एकैदिन पाँच हजार लिटरभन्दा बढी दही बिक्री हुन्छ।” माटोको कतारो, भिउट र कपमा प्रतिलिटर रु दुई सय ६० मा दही बिक्री गर्दै आएका उनले परम्परागत शैलीमै दही उत्पादन गर्ने भएकाले उपभोक्ताको भीड लाग्ने गरेको बताउँछन्। भक्तपुरका दही व्यवसायीहरुबाट मात्रै आज एकैदिन करिब तीन लाख लिटर दूधको दही बिक्री हुने उनी बताउँछन्। भक्तपुरमा दही उत्पादन गर्ने व्यवसायी त धेरै छन् तर वर्षौंदेखि प्रयोग गर्दै आएको परम्परागत शैलीमा दही उत्पादन गर्ने व्यवसायी भने थोरै छन्, जसले भक्तपुरको जुजु धौको महिमा र गुणस्तरलाई जोगाइरहेका छन्। दही कान्छा भन्छन्, “भक्तपुरमा दही उत्पादन गर्ने व्यवसायी त दुई तीनसय नै छन् तर परम्परागत शैलीमा गुणस्तरीय र स्वादिलो जुजु धौको उत्पादन गर्ने भने ६०-७० जना व्यवसायी मात्रै छन्, जसले भक्तपुरले जुजु धौको स्वादलाई जीवित राखेका छन्।” परम्परागत शैलीमा जुजु धौ उत्पादन गर्नेहरु संगठित हुँदै जुजु धौ एशोसियसनसमेत गठन गरेका छन्। सैजु जुजु धौ सेन्टरका सञ्चालक रामप्रसाद सैजुले आज दहीको माग अत्यधिक बढेको बताउँदै बिहानैदेखि दही लिन आउनेको सङ्ख्या अत्यधिक रहेको बताए। दूधको अभाव र दूध नै पर्याप्त पाउन छाडेपछि माग भएअनुसारको दही बनाउन समस्या परेको उनले बताए। सगुन जुजु धौका सञ्चालक सगुन सैजुले भक्तपुरमा दहीको माग सधैं उच्च हुने तर दूधको अभावले समस्या आउने गरेको बताउँछन्। असार १५ का लागि उपत्यकाका किसानको दूधले नपुगेर उपत्यका बाहिरबाट ट्यांकरमा ल्याएको दूधबाट दही उत्पादन गरेको बताए। ऐतिहासिक जुजु धौको नाम यसरी रह्यो ‘जुजु धौ’लाई ‘दहीको राजा’ भनेर पनि चिनिन्छ। नेवारी भाषामा ‘जुजु’को अर्थ राजा र ‘धौ’ को अर्थ दही हो। मानिसले पशुपालन गरेदेखि नै दही खान जानेका हुन्। लिच्छवीकालमै दही बनाउने व्यवसाय सुरु भएको पाइन्छ। तर पनि व्यवसायीबीच राम्रो दही बनाउने प्रतिस्पर्धा भने मल्लकालमा आएर सुरु भएको बताइन्छ। मल्लकालका राजा जयस्थिति मल्लले बजारमा पाइने दही राजदरबारमा मगाएको इतिहास रहेको संस्कृतिविद् रामसुन्दर श्रेष्ठ बताउँछन्। उनका अनुसार जयस्थिति मल्लले काठमाडौं, भक्तपुर र ललितपुरबाट दही मगाएको र दही बनाउनेहरुले राजालाई दही पुर्‍याउन गएछन्। मल्ल राजालाई भक्तपुरको दही अति नै मीठो लाग्यो र त्यसैले भक्तपुरको दहीलाई मल्लकालेदखि नै ‘जुजु धौ’ भन्ने गरियो, जुन इतिहासको रुपमा अहिलेसम्म रहेको छ। दहीलाई सगुनका रुपमा लिइन्छ। पृथ्वीनारायण शाहले नेपालको एकीकरण सुरु गर्दा गुरु गोरखनाथले दही खुवाएर आर्शीवाद दिएको इतिहास समेत रहेको छ। यसरी बनाइन्छ जुजु धौ दही त घरघरमै पनि बनाइन्छ। फरक फरक बिधि र आधुनिक तरिकाले अचेल दही बनाउने गरिन्छ। तर जुजु धौ भने परम्परागत शैलीबाट मात्रै बनाउने गरिन्छ । दही कान्छाका नामले परिचित त्यातका अनुसार तातो दूधमा चिनी हालेर माटो, प्लाष्टिक वा अन्य भाडामा हालेर फ्रिजमा राखेर पनि दही बनाउने र बिक्री गर्ने प्रचलन अचेल बढेको छ । तर जुजु धौ बनाउने परम्परागत शैली भने फरक छ। उनका अनुसार जुजु धौ बनाउन दाउराको आगोमा दूधलाई बाक्लो हुने गरी राम्रोसँग चलाउँदै उमाल्नुु पर्दछ। जुजु धौ’ बनाउन ५ फ्याटको दूध चाहिन्छ। त्यसलाई एक घण्टा ठूलो कराइमा उमालिन्छ। पहिलेपहिले दाउराको आगोमा उमाले पनि समयसँगै ग्यास र आधुनिक मेसिनले दाउरा विस्थापित गरेको पाइन्छ तर आगोमा उमालेको दूधबाट बनेको दहीको स्वाद अझै स्वादिलो हुने गर्छ। गाईको भन्दा भैंसीको दूध दहीका लागि अतिउपयुक्त मानिन्छ। दूध उमाल्दा कम्तिमा ४० लिटर दूधलाई ३० लिटर हुने गरी उमाल्नु पर्छ। मगमग बास्ना आउने गरी उमालेर बाक्लो बनेको दूधलाई सकेसम्म हावा नछिर्ने कोठामा भूईमा फिजाएको भूसलाई खाल्डो बनाएर राखिएको ठाउँमा पानीले पखालेको माटोको कतरा, भिउँट राखिन्छ। सुरुमा आधा भाग मात्र दूध राखिन्छ।  दूध सेलाएपछि बाँकी आधा दूधसँगै दहीको जोरन अर्थात ‘बिऊ दही’ भाँडामा भरिन्छ। त्यसमाथिबाट माटोकै कतराले नै छोपिन्छ। त्यसलाई माथिबाट बाक्लो सिरक, केही न्यानो हुने बाक्लो कपडा वा जुटको बोराले छोपेर राखिन्छ। त्यसको करीब चार/पाँच घण्टापछि लटक्क जमेको जुजु धौ तयार हुन्छ। नेवारी भाषामा ‘कल’ भनिने यो माटोको भाँडा ‘जुजु धौ’ बनाउनका लागि अति आवश्यक हुन्छ। कताराले पानी सोस्ने भएका कारण पनि माटाका भाँडा खास मानिन्छ। दही कान्छा भन्छन्, “जति बाक्लो हुने गरी दूध उमालिन्छ, जुजु धौ त्यति नै बढी स्वादिलो र मिठो हुन्छ। जुजु धौको प्रमुख विशेषता यसको स्वाद नै हो। न अमिलो न गुलियो, यो मगमग बास्नादार स्वादिलो हुनु नै जुजु धौको प्रमुख विशेषता हो। चक्कुले टुक्रा टुक्रा पारेर काट्न मिल्नु, माटोको कतारोको दहीलाई घोप्ट्याए पनि नपोखिने यसको अर्को विशेषता हो।” जुजु धौको स्वाद र गुणस्तर नेपालमा मात्र होइन विदेशमा समेत प्रख्यात रहेको छ। भक्तपुर घुम्न आउने स्वदेशी र विदेशी पर्यटक दहीको स्वाद चाखेर मात्रै जाने गर्दछन्। पछिल्लो समय बिवाह, ब्रतबन्ध, पास्नी वा अन्य शुभकार्यमा पनि परम्परागत शैलीमै उत्पादन भएको जुजु धौ भक्तपुर र उपत्यका बाहिरसमेत लाने गरिन्छ। यस्ता छन् चुनौती काँठ क्षेत्रमा गाई, भैंसीपालन व्यवसाय हराउँदै जानु चुनौतीको रुपमा आएको छ। भक्तपुरलगायत काँठ क्षेत्रमा भैंसीपालन ७५ प्रतिशतले घटेपछि दूधको अभाव भएको छ। दहीका लागि आवश्यक दूध भक्तपुर र यहाँका काँठ क्षेत्रबाट संकलन गरेर ल्याइन्छ भने त्यसबाहेक ७० प्रतिशत दूध उपत्यका बाहिरका जिल्लाबाट ट्यांकरमा ल्याउने गरेको दही एशोसियसनको भनाइ छ। दूधको अभाव दही उत्पादनमा चुनौती बनेको छ। अर्को चुनौतीको रुपमा माटोको भाडोको उत्पादनमा कमी आउनु हो। माटोको भाडा बनाउने कुमालेहरुले माटोकै अभावका कारण यो पेशा छाड्न थालेपछि दहीलाई चाहिने माटोको भाडोको अभाव अर्को चुनौती हो। कुमालेहरुले पनि कतारो बनाउन छाड्नु जुजु धौ जोगाउन चुनौती बनेको व्यवसायी बताउँछन्। बजारमा फ्रिजमा राखेर आधुनिक शैलीमा प्लाष्टिकका बट्टाको दही जमाएर बिक्री गर्दा जुजु धौको पहिचान जोगाउन समस्या भएको व्यवसायीको गुनासो छ। आधुनिक शैलीमा बनाएको अमिलो र गुणस्तरहित दहीलाई पनि जुजु धौ भनेर बिक्री गर्दा पहिचान जोगाउन कठिनाई भएको एशोसियनको भनाइ छ। एशोसियसनका अनुसार असार १५ का लागि भक्तपुरबाट मात्रै तीन लाख लिटर दूधको दही उत्पादन भएको छ। यो दही मध्याह्नसम्म सकिने अनुमान व्यवसायीको छ। स्थानीय पाठ्यक्रममा जुजु धौ मल्लकालदेखि नै भक्तपुरको दहीलाई जुजु धौ भनेको इतिहासलाई जीवित राख्दै जुजु धौ उत्पादनलाई निरन्तरता दिने उदेश्यले भक्तपुर नगरपालिकाले स्थानीय पाठ्यक्रममा जुजु धौलाई राखेको छ। भक्तपुरको यही जुजु धौको मौलिकता जोगाउन, यसको उपयोगिता, बनाउने विधि, यसको महत्वलाई संरक्षण गर्न भक्तपुर नगरपालिकाले यसलाई स्थानीय पाठ्यक्रममा समावेश गरेको नगर प्रमुख सुनिल प्रजापति बताउनँछन्। भक्तपुर नगरपालिकाको स्थानीय पाठ्यक्रम ‘ख्वपको पहिचान’ मा जुजु धौलाई पनि समावेश गरिएको उनले बताए। जुजु धौ भक्तपुरको मौलिक उत्पादन भएकाले यसको संरक्षणका लागि पाठ्यक्रममा समावेश गरेको उनको भनाइ छ। बढ्दो ताइचिन चिउराको माग भक्तपुरमा लोकल उत्पादनको रुपमा प्रख्यात ताइचिन चिउराको माग पनि उत्तिकै बढेको छ। दहीँसँग ताइचिन चिउरा निकै मीठो र स्वादिलो हुने मान्यता अनुरुप वर्षौदेखि चिउराका पारखीले ताइचिन चिउरा नै रोज्ने गर्छन्। भक्तपुरमा करिब २५ वटा चिउरा मिलबाट दैनिक २५ टन ताइचिन चिउरा उत्पादन हुने गरेको बताउनुहुन्छ घरेलु उद्योग संघका निवर्तमान अध्यक्ष वीरेन्द्र जती। भक्तपुर नगरपालिका-६ भालाछेँमा लक्ष्मी चिउँरा उद्योगको नामले प्रख्यात जतीको उक्त चिउरा उद्योगमा मात्रै दैनिक ८०० किलो ताइचिन चिउरा बिक्री हुने गरेको उनी बताउँछन्। आज असार १५ दही चिउरा खाने दिन काठमाडौं उपत्यकाका व्यापारी तथा रेष्टुरेष्टहरुमा ताइचिन चिउराको माग बढेको उनले बताए। आज मात्रै एक हजार किलो चिउरा माग भएको उनले बताए। उनले प्रतिकिलो रु. १६० मा भक्तपुरमा ताइचिन चिउरा बिक्री गर्ने गरेका छन्। विशेषगरी असार १५ मा काठमाडौँ उपत्यकालगायत देशका विभिन्न ठाउँमा दहीसँग ताइचिन चिउरा खाने प्रचलन रहेको छ। रमेश गिरी/रासस
सडक जत्तिकै चौडाइमा पुल निर्माण गरिने काठमाडौँ। काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले उपत्यकाको पुलको चौडाइ सडकको जत्तिकै चौडाइमा पुल निर्माण गर्ने भएको छ। विगतमा सडकमात्रै विस्तार भएकामा अहिले सडकजत्तिकै चौडाइमा पुल विस्तार गर्न लागिएको हो। अधिकांश सडकमा सडक निर्माणको थोरैमात्रै काम बाँकी हुँदा पुल निर्माण अघि बढाउन लागिएको आयोजनाले जनाएको छ। चावहिल–साँखु, जोरपाटी–सुन्दरीजल, कर्मनाशा खोला–गोदावरी, कलंकी–थानकोटलगायतका सडकमा पुल बनाइने आयोजनाका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिए। थानकोट सडकमा बल्खु खोला, गोदावरीमा गोदावरी खोला, साँखुमा बागमतीसँगै मनोहरा र मनोमतामा पुल बनाउन लागिएको हो। उनले भने, “यी पुलमा निर्माणमा जाने क्रममा रहेका छन्।” चावहिल–साँखु सडकमा यो वर्ष पुल निर्माणका लागि ठेक्का सम्झौता भएको थियो। दुईदेखि साढे दुई वर्ष अवधिका पुलहरू रहेको सूचना अधिकारी जोशीले बताए। उनले भने, “यो आवको ठेक्का भएर अहिले डिजाइन भइरहेको छ। अर्काे वर्षमा पुल निर्माण हुनेछ।” पहिले दुई लेनको पुल रहेकामा अहिले कम्तीमा चार लेन हुने आयोजनाले जनाएको छ। सडक नै कम चौडाइमा विस्तार भएका ठाउँमा पनि कम्तीमा सडकको चौडाइ बराबरको पुल बनाइने आयोजनाले जनाएको छ। निर्माण कम्पनी आफैँले डिजाइन गर्ने गरी डिजाइन एन्ड बिल्ड ठेक्कामार्फत निर्माण गर्न लागिएको हो। चावहिल–साँखु पुल निर्माण गर्न लागिएका तीन स्थानमध्ये सबैभन्दा बढी सवारी चाप नारायणटारको बागमती पुलमा रहेको छ। उपत्यकाका यी सडकमा रहेको सवारी चाप व्यवस्थापनका लागि सडक विस्तार भए पनि पुल साँघुरो नै भएकाले तीनलाई समेत विस्तारको योजना बनाइएको हो। उपत्यकामा थप ठाउँमा सडक विस्तारको योजना नरहेकाले अहिले पुलको नै काम हुने उनले बताए। विगतमा निर्माणस्थल खाली नहुँदा सात–आठ वर्षसम्म पनि सडक सम्पन्न नभएकाले सरकारले तत्काल नयाँ सडकमा विस्तारको योजना बनाएको छैन। पुल बन्दै भए पनि सडक सम्पन्न भएपछि बुझाइने आयोजनाले जनाएको छ। कुनै पनि सडक सम्पन्न भएपछि एक वर्षसम्म निर्माण कम्पनीले नै मर्मतको काम गर्ने र यसपछि सम्बन्धित डिभिजन सडक कार्यालयमा बुझाउने गरिएको छ। अहिले विस्तारका धेरै सडकमा निर्माण सकिएर मर्मत अवधि जारी रहेको छ। – रासस
नयाँ राहदानी लिनेको संख्या महिनैपिच्छे बढ्दै काठमाडौँ। पछिल्लो समय नयाँ राहदानी लिनेहरूको संख्या बढ्दै गइरहेको छ। राहदानी विभागका अनुसार गतको जेठ महिनामा मात्रै एक लाख ४७ हजार जनाले राहदानी लिएका थिए। यसमध्ये ६३ प्रतिशतले नयाँ राहदानी लिएका छन् भने बाँकीले नवीकरण गराएका छन्। एकै महिनामा एक लाख ४७ हजारले राहदानी लिएको हालसम्मकै यो उच्च भएको राहदानी विभागका प्रवक्ता तथा निर्देशक दुरपदा सापकोटाले जानकारी दिए। उनका अनुसार गएको चैत महिनामा एक लाख ४२ हजारले तथा वैशाख महिनामा एक लाख २५ हजारले राहदानी लिएका थिए। जसमा राहदानी नवीकरण गर्ने र नयाँ राहदानी लिने दुवैको संख्या समावेश गरिएको छ। प्रत्येक १० वर्षमा राहदानी नवीकरण गर्नुपर्ने कानुनी व्यवस्था छ। पछिल्लो समय राहदानी बनाउनेको संख्या अनुमानभन्दा बढी र नवीकरण गर्नेको संख्या कम भएको विभागले जनाएको छ। सैसठ्ठी पृष्ठको राहदानी चार लाख प्रति छापिएकामा पाँच हजारमात्रै प्रयोग भएको र बाँकी मौज्जाद रहेकाले त्यसलाई समेत साधारणसरह वितरण गर्न थालिएको विभागले जनाएको छ। – रासस
निरन्तर वर्षाले मालढुंगा–बेनी सडक अवरुद्ध पर्वत। निरन्तरको वर्षाका कारण कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी र मुस्ताङलाई जोड्ने मालढुंगा–बेनी सडक अवरुद्ध बनेको छ। पर्वतको जलजला गाउँपालिका–७ धाइरिङको केराबारीमा सडकमाथिबाट आएको पहिराले पुरिएर गए रातिदेखि सडक अवरुद्ध बनेको हो। निरन्तर वर्षा भएका कारण अहिलेसम्म पहिरो पन्छाउने काम सुरु हुनसकेको छैन। वर्षा रोकिएपछि सम्बन्धित निर्माण व्यावसायीलाई सडक खुलाउनका लागि अनुरोध गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख सुमन न्यूरेले जानकारी दिए। सडक अवरुद्ध हुँदा मुस्ताङ र म्याग्दीका लागि अन्य जिल्लाबाट आएका सवारीसाधन र यात्रु लस्तीमा थन्किएका छन्। म्याग्दी र मुस्ताङबाट छुटेका लामो तथा छोटो दूरीका सवारीसाधन मिलनचोकमा रोकिएका छन्। यात्रुलाई बागलुङतर्फको वैकल्पिक रुट प्रयोग गर्न आग्रह गरिएको ट्राफिक प्रहरी प्रमुख न्यूरेले बताए। निर्माणाधीन उक्त सडक समान्य वर्षा हुँने बित्तिकै अवरुद्ध हुने गरेको छ।
पहिरोले काठमाडौँ–हेटौँडा जोड्ने कान्तिलोकपथ अवरुद्ध मकवानपुर। काठमाडौँ–हेटौँडा जोड्ने कान्तिलोकपथअन्तर्गत ललितपुरको भट्टेडाँडास्थित बागमतीको पुल नजिकै आज बिहान पहिरो जाँदा काठमाडौँ–हेटौँडा यातायात अवरुद्ध भएको छ। मकवानपुरको सिमानाबाट करिब दुई किलोमिटर उत्तरतर्फ बागमती पुल नजिकै गएको पहिरो मौसममा सुधार आएपछि मात्र हटाउन सकिने जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिए। यता हेटौँडाबाट काठमाडौँका लागि प्रस्थान गरेका हल्का सवारीसाधनलाई ठिंगन प्रहरीले रोकेको छ। चितवनको मुग्लिन सडकखण्ड पहिराका कारण अवरुद्ध भएपछि काठमाडौँबाट चितवनतर्फ गुडेका सबै सवारीसाधन त्रिभुवन राजपथतर्फ फर्काइएको प्रहरी निरीक्षक घिमिरेले जानकारी दिए। यसैगरी पश्चिमबाट आएका सवारीसाधन हेटौँडा त्रिभुवन राजपथ हुँदै काठमाडौँ प्रस्थान गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। त्यस्तै मकवानपुरस्थित त्रिभुवन राजपथ, पूर्वपश्चिम राजमार्ग, भीमफेदी कुलेखानी सडकखण्डको फाखेल र सिस्नेरी तथा चित्लाङ–थानकोट सडकमा पनि सवारीसाधन सञ्चालनमा रहेको प्रहरीले जनाएको छ। – रासस
राष्ट्रिय धान दिवस : दही च्यूरा खाएर रोपाइँ गरिँदै काठमाडौं। ‘आज धान दिवस मनाइँदै छ। विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो। कृषि प्रधान देश भएकाले नेपालका अधिकांश नागरिकको पेसा खेतीपाती हो। त्यसैले धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ। किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन्। आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ। ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोकलयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ। मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन्। कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन्। यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ। असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रुपमा पनि लिइन्छ। खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन्। हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ। शुभकार्यका लागि घर बाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ। यस्ता शुभकाममा निस्कनुअघि सगुनका रुपमा पनि दही खुवाएर बिदाइ गरिन्छ। निस्कने बेलामा दही खाएर हिँडे साइत पर्ने जनविश्वास रहिआएको छ। दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवद्र्धक मानिन्छ। गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने भविष्यवाणी गरेका थिए भनिन्छ। आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाएको मोही पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मीकहाँ जानु नपर्ने बताइएको छ। ‘भोजनान्ते पिबेत् तक्रं वैद्यस्य किं प्रयोजनम्’ भन्ने जस्ता वाक्य पनि आयुर्वेदमा उल्लेख गरिएको छ। दहीले पाचन शक्ति पनि बढाउँछ। पखाला लागेका बेला दही चिउरा खाएमा औषधिको काम गर्छ। यसैले दही चिउरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहत् रुप लिएको छ। यसरी असार १५ गते नेपाली समाजमा धान दिवस राष्ट्रिय सांस्कृतिक पर्व बन्न सफल भएको छ।
आजको मौसमः मुलुकभर पानी पर्ने संभावना काठमाडौं। हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर सामान्य देखि पूर्णतया बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी , कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही तथा बाँकी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ। राति भने देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै लुम्बिनी र सुदुर पश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। कोशी, मधेश प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, मधेश प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्याङसहित भारी देखि धेरै भारी वर्षाको समेत सम्भावना र गण्डकी र लुम्बिनी प्रदेशका तराईका धेरै तथा बाँकी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेकोले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने देखिन्छ। तसर्थ भारी वर्षा, मेघ-गर्जन/चट्याङ, हावा हुरी, गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुराेध गरेकाे छ।
यौन दुर्व्यवहार गरेको आरोपमा भैरवस्थान मन्दिरका मूल पुजारी निलम्वित रामपुर (पाल्पा)। यौनजन्य दुर्व्यवहार गरेको आरोपमा भैरवस्थान मन्दिरका मुख्य पुजारीलाई निलम्वन गरिएको छ । पाल्पाको रिब्दिकोट गाउँपालिका–४ मा अवस्थित यस मन्दिरका मुख्य पुजारी ७० वर्षीय जितनाथ योगीलाई महिला दर्शनार्थीमाथि यौनजन्य दुर्व्यवहार (अभद्र) गरेको पाइएपछि निलम्वन गरिएको हो । महिला दर्शनार्थीमाथि यौनजन्य अभद्र व्यवहार गरेको सामाजिक सञ्जाल तथा मिडियामा खबर फैलिएपछि सिसीटिभी फुटेज जाँचका आधारमा मन्दिरमा दर्शन गर्न आएकी एक महिलामाथि अभद्र व्यवहार गरेको भिडियो देखिएपछि निलम्वन गरिएको मन्दिरका व्यवस्थापक मिनबहादुर बुढाथोकी बताउँछन्। “हामीलाई सम्बन्धित यौनजन्य अभद्र व्यवहार गरिएकी महिलाबाट त जानकारी आएको छैन, विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा कुरा बाहिर सार्वजनिक भएपछि सिसिटिभी फुटेज जाँच गरेर अभद्र व्यवहार गरेको पाइएपछि मन्दिरको मुख्य पुजारीको जिम्मेवारीबाट बुधबारदेखि निलम्वन गरेका छौँ”, उनले भने। भैरवस्थान मन्दिर पाल्पाको ऐतिहासिक, पर्यटकीय तथा धार्मिक धरोहरका रुपमा रहेको छ । यो मन्दिर पश्चिम नेपालकै धरोहर मानिन्छ । समितिले एक विज्ञप्ति जारी गर्दै पुजारीबाट भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पुजारीको व्यवहारप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै मन्दिर व्यवस्थापन समितिले सत्यतथ्य छनबिन नहुँदासम्म पुजारीलाई सम्पूर्ण जिम्मेवारीबाट निलम्वन गरिएको जनाएको छ । पुजारी योगी यस मन्दिरमा विसं २०५९ देखि मुख्य पुजारीका रुपमा सेवा गर्दै आइरहेको बुझिएको छ । दाङ स्थायी घर भएका योगीले मन्दिरमा दर्शनका लागि आउने महिला दर्शनार्थीलाई टीका लगाइदिने र प्रसाद दिने बहानामा योगीले उनीहरुको स्तनमा हातले छुने गरेको घटना बाहिरिएको छ । घटना बाहिर आए पनि सम्बन्धित पीडितबाट प्रहरी कार्यालयमा जाहेरी भने परेको छैन ।
झापामा ‘लापसे’ जाँच सुरु, दिनैपिच्छे कारोबारी पक्राउ झापा। झापामा लागुऔषधको सेवन तथा कारोबार नियन्त्रणका लागि प्रहरीले उच्च निगरानी बढाएको छ । नेपाल प्रहरी र सीमा क्षेत्रमा तैनाथ सशस्त्र प्रहरी दुवैले निगरानी बढाएका हुन् । पूर्वीनाका काँकडभिट्टामा लागुऔषध नियन्त्रणको नयाँ प्रयोगका रूपमा लापसे (लागुपदार्थ सेवन)जाँच सुरु गरिएको छ । प्रहरीले मापसे (मादक पदार्थ सेवन) जाँचको निरन्तरतासँगै लापसे जाँच पनि सुरु गरेको हो । लागुऔषध सेवनका कारण समाजमा विभिन्न प्रकृतिका अपराधसँगै दुर्घटनासमेत बढ्न थालेपछि प्रहरीले लापसे जाँच सीमा क्षेत्रबाटै सुरु गरेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायब उपरीक्षक दीपक भारतीले बताए । “दुर्घटनासँगै आपराधिक घटना बढिरहेका छन्”, उनले भने, “सीमाबाट नेपाल प्रवेश गर्ने शङ्कास्पद व्यक्ति, राजमार्गमा सवारीसाधन चलाउने चालक तथा सहचालकको लापसे जाँच गर्छौं ।” उनले लापसे जाँचका लागि स्थानीय सङ्घसंस्थाले किट उपलब्ध गराएको बताए । पछिल्लो समय लागुपदार्थ सेवन गरेर मोटरसाइकल चलाउँदा अनियन्त्रित भई दुर्घटना र मानवीय क्षति धेरै हुने गरेको प्रहरीको भनाइ छ । ट्राफिक प्रहरीले निजी तथा सार्वजनिक सवारी, म्याजिक गाडी, सिटी सफारीलगायतका चालकको लापसे जाँच गरिरहेको छ । प्रनाउ भारतीले लापसे जाँच प्रभावकारी देखिएको हुँदा किट खरिदका लागि स्थानीय सरकारसँग अनुरोध गरिएको बताए । “एउटै किटलाई रु चार सयभन्दा बढी मूल्य पर्छ, आफैँ खरिद गरेर जाँच गर्नसक्ने अवस्था छैन”, उनले भने, “स्थानीय सरकार र सामाजिक सङ्घसंस्थासँग किटको व्यवस्थाका लागि पहल गरिरहेका छौँ ।” पूर्वीनाका रहेको मेचीनगरमा प्रत्येक वर्ष लागुऔषध प्रयोगकर्ता बढिरहेका छन् । चालु आर्थिक वर्षको ११ महिनामा इप्रका काँकरभिट्टामा दर्ता भएका एक सय ४९ वटा मुद्दामध्ये ४५ वटा लागुऔषधका छन् । मेचीनगर नगरपालिका–१५ की मैनादेवी थापाले लागुऔषध न्यूनीकरणका कार्यक्रम ग्रामीण क्षेत्रमा नपुगेको बताए । उनले गाउँगाउँमा कारोबारीको सञ्जाल उत्तिकै रहेको र युवालाई जोगाउन गाह्रो भइरहेको बताए । उनले लागुऔषध प्रयोगकर्ताका कारण गाउँमा चोरी, तस्करीसँगै आपराधिक घटना बढिरहेको बताए। दिनैपिच्छे कारोबारी पक्राउ जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र रिजालका अनुसार लागुऔषधको कारोबार गरेको अभियोगमा जिल्लामा हरेक दिन औसत एक अभियुक्त पक्राउ पर्ने गरेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक पनि छन् । झापामा भारतसँग एक सय ४४ किलोमटिर लामो खुला सिमाना छ । पूर्वको मेचीनगरमा पश्चिम बङ्गाल र दक्षिणको भद्रपुरदेखि गौरीगञ्जसम्म विहार प्रान्तसँग सीमा जोडिएको छ । पश्चिम बङ्गालसँग सीमा जोडिएको प्रमुख व्यापारिक नाका काँकरभिट्टा, बिहारसँग जोडिएको भद्रपुर र गौरीगञ्जलाई लागुऔषधका कारोवारीले ओसारपसारको अखडा जस्तै बनाएका छन् । जिल्लामा चालु आर्थिक वर्ष २०७९\८० को ११ महिनामा प्रहरीले विभिन्न स्थानबाट तीन सय तीन जना लागुऔषधका कारोबारी पक्राउ गरेको छ । त्यसमा १५ जना भारतीय नागरिक रहेका छन् ।  “सीमामा प्रहरीको उच्च निगरानी छ”, प्रहरीका सूचना अधिकारी रिजालले भने, “तर पनि लागुऔषधको कारोबार मुख्य चुनौतीका रूपमा खडा भएको छ । जनचेतनाको कमीले होला, यसलाई रोक्न जनस्तरमा जागरुकता देखिँदैन ।” उनले ग्रामीण क्षेत्रसम्म यसको सञ्जाल फैलिएको हुँदा निगरानीमा स्वयं अभिभावक पनि जागरुक हुनुपर्ने बताए । प्रहरीले कारोबारको ‘ट्रान्जिट प्वाइन्ट’ बनिरहेको काँकडभिट्टा, भद्रपुर, बनियानी र गौरीगञ्जमा निगरानी बढाएपछि अभियुक्त पक्राउ पर्ने र मुद्दा दर्ताको सङ्ख्या ह्वात्तै बढेको छ । चालु आवको साउनदेखि जेठमसम्मको ११ महिनामा लागुऔषधका कारोबारीविरुद्ध एक सय ८४ वटा मुद्दा दर्ता भएको छ । सोही अवधिमा एक हजार चार सय ९२ ग्राम ब्राउन सुगर र २७ केजी गाँजासहित डाइजीमापाम, फेनारगन, लुपिजेसीकलगायतका चक्की समेत बरामद गरिएको रिजालले बताए । लागुऔषध न्यूनीकरणका लागि तीनै तहका सरकारले स्थानीय सङ्घसंस्था र प्रहरीसँग मिलेर सचेतनामूलक कार्यक्रम सुरु गरेका छन् । यद्यपि न्यूनीकरणमा भने चुनौती देखिएको छ । चन्द्रकला भण्डारी\रासस
कैलालीमा लागूऔषधसहित एक जना पक्राउ धनगढी ।  कैलालीमा लागूऔषधसहित एक जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँका २५ वर्षीय रामलखन राना पक्राउ परेका हुन् । रानालाई शंका लागी चेकजाँच गर्दा उनको  साथबाट २९० मिलिग्राम लागूऔषध फेला पारी उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिईएको प्रहरी टोलीले पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
४२ घरधुरीलाई सोलार सहयोग सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका–३ मा रहेका ४२ घरधुरीलाई निःशुल्क सोलर बत्ती वितरण गरिएको छ । वडा नं ३ को लिमाटाङ, टल्की र गुम्बा गाउँका विपन्न घरधुरीलाई सोलार वितरण गरिएको हो । अन्धकारमा कोही रात कटाउन नपरोस् भनेर बत्तीको पहुँच नपुगेका घरपरिवारले सजिलै उज्यालो बत्ती पाउन सकून भन्नका लागि सोलार सहयोग गरिएको हो । विद्युतीय ऊर्जाको अभावमा लामो समयदेखि समस्या झेलिरहेका विपन्न नागरिकले सोलार पाएपछि खुसी भएका छन् । हुम्ला अहिलेसम्म पनि केन्द्रीय प्रसारण लाइनमा जोडिन सकेको छैन । लिमाटाङ गाउँमै पुगेर सोलार वितरण गरिएको हो । दुई वटा बल्व, एउटा सोलार पाता, व्याट्रीसहित सोलार बत्ती वितरण गरिएको हो । तेस्रो ध्रुव संरक्षण परियोजना उकालीको आयोजनाका साथै संयुक्त राष्ट्र विकास कार्यक्रमको विश्व अमेरिकी गैरसरकारी संस्था र जीईएफ स्मल ग्रान्ड फन्ड (एसजीपी) यूएनडीपी, सिमकोट गाउँपालिका आर्थिक सहयोगका साथै क्यानडामा रहेका पेमा लामाको व्यतिगत आर्थिक सहयोगमा सोलार सहयोग गरिएको हो । खाली खुट्टा कलेज अन्तर्राष्ट्रिय ९भारत० लोटस इनर्जी प्रालिको प्राविधिक सहयोग तथा छेतेन लामाको समन्वयमा उक्त सोलार विपन्न परिवारलाई सहयोग गरिएको हो । सोलार वितरण कार्यक्रममा लिमाटाङ गाउँमै पुगेर सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी ‘प्रतिरोध’, प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेल, वडा नं ३ का वडाध्यक्ष पामा लामालगायत सहयोगी संस्थाका पदाधिकारीको उपस्थिति थियो ।
रुपन्देहीका विभिन्न स्थानमा बम विस्फोटका घटनामा संलग्न तीन जना पक्राउ लुम्बिनी । रुपन्देहीका विभिन्न स्थानमा बम विस्फोटका घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ परेका तीनै जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले आज भैरहवामा पत्रकार सम्मेलन गरी घटनामा संलग्न अभियुक्तलाई सार्वजनिक गरेको हो । प्रहरीले पक्राउ गरी सार्वजनिक गरेका अभियुक्त रुपन्देहीको सियारी गाउँपालिका–४ धमसरका २७ वर्षीय अब्दुल हाकिम खाँन, कोटहीमाई गाउँपालिका–३ पर्सियाका २२ वर्षीय सुरज लोहार र कोटहीमाई–४ का २४ वर्षीय सुरज थारु रहेको पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर विकले जानकारी दिए । तीन दिनअघि पक्राउ परेका व्यक्तिहरुबाट लु८५प ६२२१ र लु २० प २५७२ नम्बरको पल्सर मोटसाइकल र विभिन्न मोडलका मोबाइल फोनसमेत बरामद गरिएको प्रहरी उपरीक्षक विकले जानकारी दिए । उनीहरुले वैशाख १ गते रुपन्देहीको सियारी गाउँपालिका–४ स्थित सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेको घर पछाडिको पर्खाल नजिकै प्रेसरकुकर बम राखेको प्रहरीले जनाएको छ । उक्त बम नेपाली सेनाको विस्फोटक टोलीबाट डिस्पोज गरिएको थियो । असार १ गते बिहान २ः३० बजे सिद्धार्थनगर नगरपालिका–४ स्थित भैरवप्रसाद कलवारको शिवम इम्पेक्सको कम्पाउन्डमा पर्खाल बाहिर प्रेसरकुकुर बम विस्फोट गराएको र सोही दिननै बिहान ६ः१० बजे मायादेवी गाउँपालिका–८ स्थित सिद्धार्थनगर सिटी हस्पिटलको पछाडि रहेको खाली जग्गामा विस्फोटक पदार्थ (प्रेसरकुकुर बम) विस्फोट गराएको घटनामा संलग्न रहेको प्रहरीले जनाएको छ । उनीहरुले घर नजिकै बम राख्ने र फिरौती रकम माग्ने गरेको पनि अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । पक्राउ परेका तीनै जनालाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद, ७ ‘विस्फोटक पदार्थसम्बन्धी कसुर’ शीर्षकमा मुद्दा दर्ता भई रुपन्देही जिल्ला अदालतबाट पाँच दिनको म्याद थप भई घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले जनाएको छ ।
बाजुरामा जीप दुर्घटना हुदा सात जना घाइते धनगढी ।  बाजुरामा जीप दुर्घटना भएको छ । जिल्लाको बुढीनन्दा नगरपालिका–१ पिपलडालीमा सुदूरपश्चिम प्रदेश ०१००१ ज १२४१ नम्बरको जीप बिहीबार दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । आज दिउँसो कोल्टीबाट धुलाचौर जाँदै गरेको जीप सडक छेउमा साइड दिने क्रममा सडकबाट करिब तीन मिटर तल खसेको इलाका प्रहरी कार्यालय कोल्टीले जनाएको छ । जीपमा १० जना यात्रु लिएर कोल्टीबाट धुलाचौरका लागि छुटेको जीप दुर्घटनामा परेको हो। दुर्घटनामा ७ जना सामान्य घाइते भएका छन्, भने बाँकि ३ जना सकुशल छन् । जीप दुर्घटनामा घाइते भएका मुगुको खत्याड गाउँपालिका वडा नं ९ का १४ वर्षका असल परियार, सोही ठाउँका ३० वर्षीय पुन्न सार्की, ३० वर्षीय नन्दकृष्ण सार्की, ४९ वर्षका कृष्ण बहादुर सार्की, हिमाली गाउँपालिका ४ का ३५ वर्षीय छम्मा सुनार र वडा नं ६ का १८ वर्षीय मान बहादुर सार्की रहेका प्रहरीले जनाएको छ । उनीहरूको अहिले प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचार भइरहेको बताएको छ ।
मदन भण्डारी रुपान्तरण राष्ट्रिय नेतृत्व पुरस्कार प्रदान काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारी फाउन्डेसनद्वारा स्थापित मदन भण्डारी रूपान्तरण राष्ट्रिय नेतृत्व पुरस्कार प्रदान गरेकी छन्। जननेता मदन भण्डारीको ७२औँ जन्मजयन्तीका अवसरमा आज आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले यस वर्ष सो पुरस्कार हेटौँडा उपमहानगरपालिका–४ प्रतिभानगर, मकवानपुरकी निरुकुमारी मगरलाई र मदन भण्डारी राष्ट्रिय पुरस्कार सोलुखुम्बु सोलुदूधकुण्ड नगरपालिका–४ फाप्लु निवासी डा मिङमार ग्याल्जेन शेर्पालाई हस्तान्तरण गरिन्। डा शेर्पाले विगत ४५ वर्षदेखि स्वास्थ्य सेवाको क्षेत्रमा संलग्न रही देशका दुर्गम स्थानका गरिब, असहाय तथा सेवाको पहुँचबाट बञ्चित रहेको समुदायलाई आफ्नो सेवाको अधिकांश समय विशेषतः मातृ मृत्युदर घटाउन, आधारभूत स्वास्थ्य सेवाको सहज पहुँच उपलब्ध गराउन, ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रम, दुर्गम जिल्लामा टेलिमेडिसिन सेवालगायतमा महत्त्वपूर्ण नेतृत्व गरेका छन्। पुरस्कृत व्यक्तित्व मगरले विगत ३१ वर्षदेखि खेलकुद विकासको विविध विधा र क्षेत्रमा संलग्न रही, कठिन पारिवारिक, आर्थिक, सामाजिक परिवेशका बाबजुद, आफ्नै प्रयत्नका आधारमा खेलप्रति लगनशील र निरन्तर समर्पित रहेर समाजमा विद्यमान खेलप्रतिको बुझाइ र महिला खेलाडीप्रतिको दृष्टिकोण परिवर्तन गर्न स्थानीय, प्रादेशिक, राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा सफलताको मानक कायम गरी नयाँ पिँढीलाई प्रेरणाको स्रोतको रूपमा पहिचान बनाउँदै आएका छन्। पुरस्कारमा जनही रु एक लाख नगदसहित सम्मानपत्र रहेको छ । कार्यक्रममा नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलगायत नेताहरू सहभागी भएका थिए।
गुणस्तरीय उपचारको पहुँच सुनिश्चित गर्न सबैको दायित्व आवश्यकः मन्त्री बस्नेत काभ्रे। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले क्यान्सरको उपचारमा गुणस्तरीय पहुँच सुनिश्चित गर्नु सामूहिक दायित्व आवश्यक हुने बताएका छन्। काभ्रेपलाञ्चोकको धुलिखेलमा विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को सहयोगमा कान्तीबाल अस्पतालद्वारा आज यहाँ आयोजित ‘नेपालमा बाल्यकाल क्यान्सरको उपचार पहल’सम्बन्धी दुई दिने राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै मन्त्री बस्नेतले बालबालिकाको सामाजिक, आर्थिक, पृष्ठभूमि जस्तोसुकै भए पनि क्यान्सरको गुणस्तरीय उपचारका पहुँचमा सरोकारवाला सबैको दायित्व भएको बताए। यसका लागि सरकार पूर्णरूपमा प्रतिबद्ध रहेको उनको भनाइ छ । “हामी एउटा समाज सिर्जना गर्न सक्छौँ, जहाँ बाल्यकालको क्यान्सर अब विनाशकारी निदान होइन तर व्यवस्थापन गर्न सकिने होस्”, मन्त्री बस्नेतले भने। मन्त्री बस्नेतले बाल्यकालको क्यान्सरविरुद्ध बाल चिकित्सा ‘ओन्कोलोजी’का विज्ञले दिएको सुझाव महत्वपूर्ण हुने बताए । “ज्ञान र अनुभवको आदानप्रदान र सहयोगात्मक प्रयासले बाल्यकालको क्यान्सरविरुद्ध निःसन्देह दूरगामी फाइदा दिनेछ”, उनले भने । उनले बाल्यकालको क्यान्सरविरुद्धको लडाइँमा उज्यालो भविष्य निर्माण गर्न नेपाली स्वास्थ्यकर्मीलाई महत्वपूर्ण भूमिका खेल्न आग्रहसमेत गरे । “नेपालमा बाल्यकालको क्यान्सर निदान निकै चुनौतीपूर्ण छ, अमूल्य छलफल, गहन अन्तर्दृष्टि, र दीगो परिवर्तनलाई मार्गदर्शन गर्ने स्थायी सहयोगका लागि तालिम तथा कार्यशालाले सहयोग गर्नेछ”, उनले भने । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव टङ्क बराकोटीले बाल्यकालको क्यान्सरबाट ग्रसितको अनुगमन गरी उपचारको पहुँचमा पुर्‍याउन सरोकारवालाई आग्रह गरे । डब्लुएचओका हेडक्वार्टरका डा रोबोर्टाले पछिल्लो समय क्षमता अभिवृद्धिका कारण बाल्यकालको क्यान्सरविरुद्धका प्रयास सफल हुँदै गएको उल्लेख गर्दै चुनौतीको सामना गर्न सदैव तयार रहनुपर्ने बताए । कान्तीबाल अस्पतालका निर्देशक डा युवानिधि बसौलाले प्रत्येक बालबालिकालाई रोगले आक्रमण गर्नसक्ने भएकाले विशेष ध्यान दिनुपर्ने उल्लेख गर्दै बाल्यकालको क्यान्सरविरुद्धको अभियानमा साथ दिन आग्रह गरे। दुई दिने कार्यशालामा डब्लुएचओका दक्षिण पूर्वी एशियाली राष्ट्रका प्रतिनिधि तथा क्यान्सर उपचार गर्ने नेपालका अस्पतालका चिकित्सक एवं स्वास्थ्यकर्मीको उपस्थिति छ ।
यातायात व्यवसायी तथा चालकहरुको प्रदर्शन, यस्ता छन् मागहरु काठमाडौं । पेशा व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउनुपर्ने माग राख्दै यातायात व्यवसायी तथा चालकहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । बिहीबार काठमाडौंको कलंकी, स्वयम्भु, बालाजु लगाएत चक्रपथ क्षेत्रको सडकमा यातायातका साधनहरु तेर्साएर उनीहरुले प्रदर्शन गरेका हुन् । सरकारले स्वदेशमा नै काम गर्ने वातावरण बनाउनुपर्ने, बैंकको ऋण तिर्ने म्याद एक वर्ष थप गर्नुपर्ने, २० वर्ष पुराना गाडी हटाउने सरकारको निर्णय खारेज हुनुपर्ने लगाएतका माग उनीहरुले राखेका छन् । प्रदर्शनमा सहभागीहरुले यातायात क्षेत्रलाई राज्यले महत्व नदिएकै कारण आफुहरु बिभिन्न समस्या झेल्न बाध्य भएको गुनासो गरेका छन् । आफुहरुको माग र मुद्धाका बारेमा पटक पटक राज्यका विभिन्न निकायमा कुरा राख्दा पनि कुनै सुनुवाई नभएको उनीहरुको भनाइ छ । यातायात व्यवसायी तथा चालकहरुको आन्दोलनका कारण सो क्षेत्रको यातायात बिहीबार दिनभर प्रभावित भएको थियो ।
सितापाइलामा ट्याक्सीदेखि ट्यांकरसम्मको विरोध प्रदर्शन (फोटोफिचर) काठमाडौं। विभिन्न माग राखेर सार्वजनिक यातायात व्यवसायी र मजदुर आन्दोलनमा उत्रिएका छन्। काठमाडौं सितापाइला क्षेत्रमा ट्याक्सी, ट्रक, टिप्पर, खानेपानी ट्यांकर, साना ढुवानी गाडी, टेम्पो, माइक्रोबसलगायतका सवारीसाधनसहित उनीहरु प्रदर्शनमा उत्रिएका हुन्। रातो प्लेटवाला सवारीसाधनले यात्रु बोक्न पाउने नीति खारेज गर्नुपर्ने, स्वदेशमै काम गरेर खान पाउनुपर्नेलगायतका माग राखेर प्रदर्शनमा उत्रिएका हुन्।
घन्टाघरको मस्जिदमा बकर इदको रौनक (फोटोफिचर) काठमाडौँ। इस्लाम धर्मालम्बीहरुको महान पर्व वकर इद मनाउने क्रम जारी छ। यस अवसरमा सरकारले सर्वजनिक बिदा समेत दिएको छ। आज सोही अवसरमा घन्टाघरस्थित मस्जिदमा मुस्लिम समुदायका ब्यक्तिहरुले सामुहिक रुपमा नमाज पढेका छन् भने एक अर्कासँग सामुहिक रुपमा शुभकामना आदन प्रदान गरेका छन्।
आज हरिशयनी एकादशी, घरघरमा तुलसीको विरुवा रोपी मनाइँदै काठमाडौं। आसार शुक्ल एकादशीका दिन आज घरघरमा तुलसीको विरुवा रोपी हरिशयनी एकादशी मनाइँदैछ। हिन्दू धर्मावलम्बीहरुका लागि महत्वपूर्ण दिनका रुपमा लिइने यो दिन निराहार व्रत बसी भगवान् श्रीविष्णु र तुलसीको पूजा अर्चना गरेमा मनोकामना पूरा हुने जनविश्वास छ। वैदिक शास्त्रहरूमा यस एकादशीलाई एउटा महत्वपूर्ण एकादशीका रूपमा व्याख्या गरिएको छ। निर्जला एकादशीको दिन छरेको तुलसीको बीऊलाई आज रोपेर पूजा गरिन्छ। आजदेखि भगवान् विष्णु क्षीरसागरमा सुत्ने र चार महिनापछि हरिबोधनी एकादशीमा जाग्ने विश्वास छ। तुलसीलाई भगवान् विष्णुको स्वरुपका रूपमा लिइन्छ। तुलसीलाई आयुर्वेदिक दृष्टिले औषधिका रूपमा समेत उपयोग गरिन्छ। आजको एकादशीमा पूजा अर्चना र व्रत बस्नाले सम्पूर्ण पापको मोचन हुने र सुकर्म फल प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ। आज बिहानदेखि नै काठमाडौँको बूढानीलकण्ठस्थित नारायणस्थान, उपत्यकाका चार नारायण मन्दिरलगायत मुलुकभर रहेका विष्णु मन्दिरमा पनि पूजाआजा तथा धार्मिक अनुष्ठानका लागि भक्तजनको भीड लागेको छ।
आजको मौसमः मुलुकभर वर्षाकाे संभावना काठमाडाैं। हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही मधेश प्रदेश बाहेकका सबै प्रदेशहरूका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर सामान्य देखि पूर्णतया बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका तराईका एक-दुई स्थानमा हावा हुरीको समेत सम्भावना रहेको छ। राति भने देशभर सामान्य देखि पूर्णतया बदली रहनेछ। कोशी, मधेश प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै तथा बाँकी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ। मधेश प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका केही स्थानहरूमा मेघ-गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। छ। गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका तराईका एक-दुई स्थानमा हावा हुरीको समेत सम्भावना रहेकोले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने देखिन्छ। भारी वर्षा, मेघ-गर्जन/चट्याङ, हावा हुरी, गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुराेध गरेकाे छ।
ऊन उत्पादन र निर्यात प्रवर्द्धनमा सहकार्यका लागि नेपाल र मङ्गोलियाबीच हस्ताक्षर काठमाडौं। ऊन उत्पादन, गुणस्तर परीक्षण र निर्यात प्रवर्द्धनमा सहकार्यका लागि नेपाल र मङ्गोलियाबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ । नेपालमा पश्मिना धागो र ऊनको गुणस्तर परीक्षण र विश्लेषण एवं यस क्षेत्रमा ज्ञान एवं अनुसन्धान कार्यको आदानप्रदानमा नेपाली व्यवसायी र मङ्गोलियाली अधिकारीहरू सहमत भएका हुन् । नेपाल पश्मिना उद्योग सङ्घ तथा मङ्गोलियाली सरकारको रिसर्च एण्ड डेभलप्मेन्ट इन्स्टिच्युट अफ लाइट इन्डस्ट्रीबीच यस विषयमा बुधबार समझदारीपत्रमा हस्ताक्षर भएको हो । उक्त समझदारीपत्रमा सङ्घको तर्फबाट अध्यक्ष विजय दुगर र इन्डस्ट्रीका तर्फबाट निर्देशक तुर्मुन्ख तोन्मिदले हस्ताक्षर गरेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । समझदारीअन्तर्गत नेपाली पश्मिना व्यवसायीले ऊन तथा पश्मिना धागो, अर्ध प्रशोधित भूवा तथा ऊनबाट बनेका उत्पादनको नमूनालाई इन्डस्ट्रीमा गुणस्तर परीक्षण तथा विश्लेषण गर्ने एवं यस व्यवसायमा आफ्ना ज्ञान, अनुभव एवं अनुसन्धान कार्यबारे दुवै पक्षले आपसमा जानकारी आदानप्रदान गर्नेछन् । हस्ताक्षर भएको दिनदेखि लागू भएको यो सहमतिको अवधि पाँच वर्षको हुने र दुवै पक्षको आपसी समझदारीमा यसको अवधि बढाउन सकिनेछ । मन्त्रालयका सचिव मधुकुमार मरासिनी तथा मङ्गोलियाका खाद्य कृषि तथा हल्का उद्योग मन्त्रालयका राज्य सचिव जम्बाल्ट्सेरेन तुमुर–उयाको उपस्थितिमा उक्त समझदारीपत्रमा हस्ताक्षर भएको हो । अन्तर्राष्ट्रिय व्यापार केन्द्रको आयोजनामा मङ्गोलियाको उलानबाटोरमा जारी वर्ल्ड एक्सपोर्ट डेभलप्मेन्ट फोरम, २०२३ मा नेपाली सरकारी उच्च अधिकारी तथा निजी क्षेत्रको प्रतिनिधि सम्मिलित प्रतिनिधमण्डल सहभागिताको अवसरमा उक्त समझदारी भएको हो । चारदिने उक्त सम्मेलनमा क्षेत्रीय व्यापार सम्पर्क, भूपरिवेष्टित राष्ट्रहरूका व्यावसायिक आवाज, व्यवसायीबीचको बैठक, उद्यममा युवा तथा महिला सहभागिता तथा स्थानीय नवप्रवर्तनसहित डिजिटल रूपान्तरणलगायतका विषयमा व्यवसायी, नीति निर्माता, विकास साझेदार निकायका प्रतिनिधि, विज्ञहरूबीच विभिन्न छलफल सत्र सञ्चालन भएका थिए । सो अवसरमा सचिव मरासिनी र मङ्गोलियाका राज्य सचिव उयाबीच अन्तर्राष्ट्रिय मञ्चमा भूपरिवेष्टित राष्ट्रको हितका लागि उठाइनुपर्ने आवाजबारे कुराकानी भएको थियो । पश्मिना तथा ऊनको क्षेत्रमा दुवै देशका निजी क्षेत्रबीच आपसी सहयोगलाई अझ सशक्त बनाउने तथा भूपरिवेष्टित विकासशील राष्ट्रले भोगिरहेका साझा समस्या तथा चुनौतीबारे अन्तर्राष्ट्रिय मञ्चमा उठ्ने आवाजमा दुवै मुलुकले ऐक्यबद्धता जनाउनेबारे उक्त अवसरमा छलफल भएको थियो ।