content
stringlengths
31
27.4k
बाजुरामा कांग्रेसका बद्री पाण्डेलाई ३८ सय ८८ मतको अग्रता काठमाडौ । सत्ता गठबन्धनबाट बाजुरामा प्रतिनिधिसभा सदस्यका कांग्रेसका उम्मेदवार बद्री पाण्डेले निरन्तर अग्रता कायम गरिरहेका छन् । जिल्ला निर्वाचन कार्यालयको पछिल्लो अपडेटअनुसार कांग्रेसका उम्मेदवार पाण्डेले १७ हजार ४० मत पाएका छन् भने उनका निकटतम प्रतिद्धन्द्धी एमालेका कर्ण थापाले १३ हजार १ सय ५२ मत पाएका छन् । उनीहरूको मतान्तर ३ हजार ८ सय ८८ पुगेको छ । ४ मंसिरको  निर्वाचनमा  विवाद भए पछि यहाँका केही मतदान केन्द्रमा पुनः मतदान भएको हो ।
दोलखा निर्वाचन अपडेटः सत्ता गठबन्धनको अग्रता कायमै दोलखा । दोलखामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवारकै अग्रता देखिएको छ । हालसम्म २२ हजार नौ सय ६२ मतगणना हुँदा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार गङ्गा कार्कीले १० हजार सात सय ३७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का बालकृष्ण शिवाकोटीले नौ हजार चार सय ७७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए । दोलखाको प्रदेशसभा (१) मा १९ हजार तीन सय ६७ मतगणना गर्दा सत्ता गठबन्धनबाट उम्मेदवार नेपाली कांग्रेसका कुन्दनराज काफ्लेले नौ हजार तीन सय ६८ मत तथा एमालेका नरबहादुर श्रेष्ठले सात हजार नौ सय एक मत ल्याएका छन् । प्रदेशसभा (२) मा २४ हजार चार सय १० मतगणना हुँदा कांग्रेसका वर्मा लामाले १० हजार चार सय ७२ र एमालेका भरत केसीले नौ हजार आठ सय तीन मत प्राप्त गरेका छन् । दोलखामा कूल ८५ हजार तीन सय ८८ मत खसेको थियोे । दोलखामा जम्मा ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र रहेका थिए । कूल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेका थिए भने १४ राजनीतिक दलका र सात स्वतन्त्र गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी भएका थिए ।
सङ्घ र प्रदेशमा गठबन्धन सरकारकै निरन्तरताः शशाङ्क कोइराला नवलपरासि । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य डा शशाङ्क कोइरालाले सङ्घ र प्रदेशमा गठबन्धन सरकारकै निरन्तरता रहने बताएका छन् । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) बाट नवनिर्वाचित प्रतिनिधिभिा तथा प्रदेशसभा सदस्यलाई बधाई तथा शुभकामना कार्यक्रममा उनले संविधानको चाहना र मार्गदर्शनअनुसार गठबन्धनको सरकार आवश्यक बन्ने बताए । “केन्द्र सरकार मात्र होइन गण्डकी प्रदेशमा गठबन्धनको सरकार बन्ने निश्चित छ”, नेता कोइरालाले भने, “स्थायी सरकारले मात्र मुलुकलाई निकास दिने भएकाले गठबन्धनको सरकार बन्ने निश्चित छ ।” उनले पाँच वर्षसम्म गठबन्धनको सरकार रहे मात्र देश समृद्धिमा जान सहज हुने बताए । “महिलालाई ३३ प्रतिशत भनिएको भए पनि राजनीतिमा भने लागू नभएकाले त्यसर्फ ध्यान दिनुपर्ने देखियो”, उनले भने, “महिलालाई कुनै कोटाबाट नभइ स्वतस्फूर्त रुपमा अगाडि बढाउन सक्दो प्रयास गर्नेछु ।” गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशमा गठबन्धनकै सरकार बन्ने दाबी गरे । उनले गण्डकी प्रदेशमा गण्ठबन्धनको बहुमत रहने हँुदा यही गठबन्धन कायम रहने बताए ।
देशलाई सही दिशामा अघि बढाउन युवा पुस्तालाई नेतृत्व दिनुपर्छः डा.चन्द्र भण्डारी गुल्मी । नेपाली कांग्रेसका नेता तथा गुल्मी क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य डा चन्द्र भण्डारीले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्ने बताएका छन् । शुक्रबार गुल्मीको सदरमुकाम तम्घासस्थित विपी स्मृति भवनमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले देशलाई सही दिशामा अघि बढाउन र वर्तमान समस्या समाधान गर्न युवाहरूको महत्त्वपूर्ण भूमिका हुने भन्दै नेता भण्डारीले अबको नेतृत्व युवाको काँधमा आएको बताए । उनले निर्वाचनको बेलामा नेतृत्वको विरोध गर्दा झँन आफैँमाथि प्रहार हुने र सबै मिलेर चुनाव हराउने डरका कारण आफूले केही नबोलेको बताए । वर्तमान समयमा दलहरूले प्राप्त गरेको निर्वाचनको परिणामलाई लिएर बजारमा भिन्न भिन्न आकलन र अडकलबाजी चलिरहेको भन्दै उनले नेपाली कांग्रेसले सबै दललाई मिलाएर अघि बढ्ने बताइन् । पहिलो काम भनेको गठबन्धनलाई मिलाउने र त्यसपछि प्रतिपक्षसँग पनि सहकार्य गर्दै अघि बढने उनको भनाइ थियो । नेता भण्डारीले निर्वाचन जित्नु केवल मन्त्री बन्नैका लागि मात्र नभएको भन्दै मुलुकलाई केही परिवर्तनकारी काम गर्नका निम्ति मन्त्री बन्ने सोच बनाउनुपर्ने बताइन् । उनले कसको नेतृत्वमा सरकार बनाउने भन्ने विषय पार्टीभित्र र गठबन्धनमा जोडिएका दलहरूसँग बसेर सहमति खोजिने बताए ।
धनगढीमा शनिबार बिहानसम्म निषेधाज्ञा थप धनगढी । कैलालीमा ग्रेडरको ठक्करबाट पञ्चोदयमा अध्ययनरत विद्यार्थीको मृत्यु भएपछि प्रशासनले जारी गरेको निषेधाज्ञा शनिबार बिहानसम्म थप गरिएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले सूचना जारी गर्दै निषेधाज्ञा शनिबार बिहान ४ बजेसम्मका लागि कायम रहने जनाएका छन् । बिहीबार बिहान धनगढीमो ग्रेडरको ठक्करबाट १५ वर्षीया छात्राको मृत्यु भएको थियो । त्यसपछि विद्यार्थी आन्दोलित बनेका थिए । विद्यार्थीको आन्दोलन उग्र बन्दा प्रशासनले बिहीबार बेलुकीदेखि धनगढीमा निषेधाज्ञा जारी गरेको छ ।
कैलाली प्रहरीको नियन्त्रणमा रहेका विद्यार्थीलाई रिहाइ गर्न विद्यार्थी संगठनहरूको माग धनगढी । ग्रेडरको ठक्करबाट ज्यान गुमाएकी १५ वर्षीया चेतना साउदको न्यायका लागि धनगढीमा प्रर्दशन गर्ने क्रममा प्रहरीले नियन्त्रणमा लिएका विद्यार्थीलाई निशर्त रिहाइ गर्न विद्यार्थी संगठनले माग गरेका छन् । विभिन्न राजनीतिक दल सम्बद्ध ८ विद्यार्थी संगठनले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै विद्यार्थीहरूको तत्काल रिहा गर्न माग गरेका हुन् । ‘चेतनाको न्यायका निम्ति भइरहेको आन्दोलनप्रती ऐक्यबद्धता जाहेर गर्दै आन्दोलनका प्रहरी प्रशासनको धरपकड र गिरफ्तारीको निन्दा र भर्त्सना गर्दछौँ,’ जारी संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘गिरफ्तारी गरिएका साथीहरुलाई निःशर्त रिहा गर्न माग गर्दछौँ । साथै ग्रेडर चालकलाई कडा कारवाही गरी मृतकका परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गर्दछौँ ।’ विज्ञप्तिमा नेपाली कांग्रेस निकट नेविसंघ निवर्तमान सहमहामन्त्री अच्युत कलौनी, एमाले निकट अनेरास्ववियु सुदूरपश्चिमका संयोजक मनोज राई, माओवादी निकट अखिल क्रान्तिकारीका प्रदेश अध्यक्ष दिपककुमार डिसी, विप्लव नेकपा निकट अखिल क्रान्तिकारीका प्रदेश इन्चार्ज बबरजंग सिंह लगायतले हस्ताक्षर गरेका छन् ।
बाजुरा प्रदेश ‘ख’ मा कांग्रेसका उम्मेदवारले लिए अग्रता बाजुरा । बाजुरा प्रदेश ‘ख’ मा कांग्रेसले अग्रता लिएको छ । पछिल्लो मतपरिणामअनुसार कांग्रेसका पदमबहादुर शाहीले ३९६४ मतका साथ अग्रता लिएका छन् । उनलाई एमालेका लालबहादुर थापाले ३८७४ मतका साथ पछ्याइरहेका छन् । राप्रपाले ५४ मत पाएको छ ।
बालेनलाई भीम रावलको प्रश्न– अमेरिकी राजदूतलाई भेट्दा परराष्ट्र मन्त्रालयको अनुमति लिनुभयो ? काठमाडौं । एमाले उपाध्यक्ष भीम रावलले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन साह)ले नेपालका लागि अमेरिकी राजदूत डी आर थम्पसनसँग गरेको भेटबारे चासो व्यक्त गरेका छन् । मेयर साह र राजदूत थम्पसनबीच बिहीबार भेटवार्ता भएको थियो । राजदूत थम्पसनसँग भेट्दा मेयर साहले परराष्ट्र मन्त्रालयबाट अनुमति लिए नलिएको विषयमा उपाध्यक्ष रावलले चासो व्यक्त गरेका हुन् । उनले यसबारे स्पस्ट पार्नसमेत भनेका छन् । सामाजिक सञ्जाल ट्वीटरमा उपाध्यक्ष रावलले लेखेका छन्, ‘नेपालको परराष्ट्र सम्बन्ध संघीय सरकारको मातहतमा रहने संविधानको स्पष्ट व्यवस्था छ।कामपाका प्रमुख वालेन साहाले अमेरिकी राजदूतसंग भेटवार्ता बारे विषय जानकारी गराई परराष्ट्र मन्त्रालयबाट अनुमति लिएको हो कि होइन? स्पष्ट गरियोस्।संविधान र स्वाधीन देशको स्वाभिमान र मर्यादाको रक्षा गरौं।’
अत्यधिक धूँवा फाल्ने ३८ सवारीसाधन कारवाहीमा काठमाडौं । ट्राफिक प्रहरीले अत्यधिक धूँवा फाल्ने ३८ सवारीसाधनमाथि कारवाही गरेको छ । काठमाडौंको बबरमहलमा शुक्रबार गरिएको विशेष चेकिङका क्रममा यान्त्रिक अवस्था ठिक नभएका तथा अत्यधिक धूँवा फाल्ने ३८ वटा सवारीसाधनका चालकलाई कारवाही गरिएको ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ । अत्यधिक धूँवा फाल्ने १३ र यान्त्रिक अवस्था ठिक नभएका तथा धूँवासमेत फाल्ने २५ गरी ३८ वटा सवारीसाधन कारवाहीमा परेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । उनका अनुसार यातायात व्यवस्था विभाग मिनभवन, वातावरण विभाग सिंहदरवार तथा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त खटेको टोलीले शुक्रबार बिहान बबरमहलमा ५४ वटा सवारीसाधनलाई चेक गर्दा ३८ वटा कारवाहीमा परेका हुन् । सवारीसाधन मर्मतपश्‍चात तोकिएको जरिवाना तिरी नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिने प्रहरीले जनाएको छ ।
गुणस्तरहीन काम गर्ने गाउँपालिका अध्यक्षसहित ११ जनाविरुद्ध मुद्दा दायर काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुणस्तरहीन काम गर्ने ११ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । राज्यको स्रोत तथा साधनको दुरुपयोग गरेको आरोपमा सर्लाहीको चक्रघट्टा गाउँपालिकाका तत्कालीन गाउँपालिका अध्यक्षसहित ११ जनाविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो । चक्रघट्टा गाउँपालिकाका–४ सुन्दरपुरस्थित बहिदको जग्गादेखि ढुङ्ग्राखोलासम्म पक्की नाला निर्माण गर्ने कार्यमा गुणस्तरहीन काम गरेको अभियोगका गाउँपालिकाका अध्यक्ष विक्रम यादव, निमित्त प्रमुख प्रशासकीय अधिकृत मुकेशकुमार पाठक, इञ्जिनीयर अजय यादव र लेखापाल शिवशङ्करप्रसाद कुसवाहविरुद्ध रु तीन लाख ४१ हजार पाँच सय ४४ बराबरको बिगो दाबी गरिएको आयोगले जनाएको छ । सोही गाउँपालिका–४ का वडाध्यक्ष अब्दुल अहद कवारी, गाउँ कार्यपालिका सदस्य विजयकुमार चौधरी र विनोद साह, इञ्जिनीयर अजय यादव र सवइञ्जिनीयर जीतेन्द्र यादवविरुद्ध भ्रष्टाचार निवारण ऐनबमोजिम कारवाहीको माग गरिएको छ । आयोगले उपभोक्ता समितिका अध्यक्ष शेख मोहम्मद इरफान अलि, कोषाध्यक्ष हजरा खातुन र सचिव मोहम्मद इरफानविरुद्ध रु तीन लाख ४१ हजार पाँच सय ४४ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।
तीन महिनाभित्र नागरिकताका बिषयमा निर्णय नगरे एमालेले आन्दोलन गर्ने काठमाडौं । नेकपा एमालेका नेता रघुवीर महासेठले सरकार बनेको तीन महिनाभित्र नागरिकताका बिषयमा आवश्यक निर्णय नगरिए एमालेले देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएका छन् । शुक्रबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा महासेठले जनसिद्ध नागरिकताका बिषयमा आवश्यक कानून नवन्दा लाखौ नागरिकहरु नागरिकताबिहीन हुनु परेको भन्दै अब बन्ने सरकारले तीन महिनाभित्र नागरिकताको समस्या समाधान नगरे आन्दोलन गर्ने चेतावनी दिएका हुन् । उनले यसअघिको एमाले सरकारले नागरिकताको बिषयलाई समाधान गर्ने प्रयास गरेपनि अहिलेको गठबन्धन दलहरुले नै रोक्ने काम गरेको जिकिर गरे । त्यस्तै महासेठले विगतमा केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको कामलाई देखेर मधेसी जनताले एमालेलाई मधेसमा पहिलो पार्टी बनाएको दावी गरेका छन् । उनले यसअघि एमाले सरकारले गरेका १४ सय भन्दा बढि बिकासका योजनाहरुलाई गठबन्धन सरकारले रोकेको आरोप लगाएका छन् । हेर्नुहोस् भिडियो:
वर्षमान पुन फलोअप उपचारका लागि आज चीन जाँदै काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन फलोअप उपचारका लागि आज चीन जाने भएका छन् । नेता पुनलाई वंशाणुगतरूपमा रहेको पुरानो रोग जण्डिसले फेरि सताएपछि यसअघि उपचार गरिएको चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पताल जान लागेका हुन् । यसअघि २०७८ साल मङ्सिरमा पनि उनको सोही अस्पतालमा एक महिना उपचार भएको थियो । चीन–नेपाल नियमित उडान नभएकाले पूर्वअर्थ तथा ऊर्जामन्त्रीसमेत रहेका उपमहासचिव पुन आज साँझ ७ बजे इमिरेट्सको उडानबाट दुबई, ग्वाञ्झाओ हुँदै सेनजेन जान लागेको उनको सचिवालयले जानकारी दिएको छ । गत वर्ष चीनमा उपचार गरेर फर्कंदा जण्डिसको मात्रा ९बिलरुविन० नौ रहेकामा अहिले बढेर ३५ पुगेको छ । नेता पुनसँगै उपचारका लागि पूर्वसभामुख तथा पत्नी ओनसरी घर्ती र छोरी शीला आज चीनको सेनजेन जान लागेका हुन् । काठमाडौँमा रगत, ब्लड प्रेसर, मुटुको चाल, बिलरुविनको मात्रा परीक्षण गरेर थर्ड पिपुल्स अस्पतालका चिकित्सकसँग नियमित सम्पर्कमा रहनुभएका पुनलाई चिकित्सकले फलोअपमा अस्पताल नै आउन सल्लाह दिएपछि आज चीन जान लागेका हुन्। चीन जानुअघि उपमहासचिव पुनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री शेरबहादुर देउवासँगसमेत परामर्श गरिसकेका छन् । पछिल्लो समय उनी काठमाडौँमा बसी आराम गरिरहेका थिए ।
प्रधानमन्त्रीको टुङ्गो गठबन्धनभित्रबाटै हुन्छ: रेखा शर्मा काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेत्री तथा दाङ क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रेखा शर्माले प्रधानमन्त्रीको टुङ्गो गठबन्धनभित्रबाटै हुनुपर्ने बताएकी छन् । उनले अहिले निर्वाचनको समानुपातिक मत परिमाण आउने क्रम अझै जारी रहेकाले दलका नेतालाई बाहिरभन्दा पनि पार्टी र गठबन्धनभित्र छलफल गरेर प्रधानमन्त्रीको विषय टुङ्ग्याउन आग्रह गरेकी छन् । बुटवलमा आज आयोजित साक्षात्कार कार्यक्रममा शर्माले गठबन्धनको सरकार बनाउँदा ठूलो दलको हैसियतले नेपाली कांग्रेसले प्रधानमन्त्रीमा दाबी गर्नुलाई अस्वभाविक मान्न नहुने बताइन् । उनले प्रधानमन्त्रीको विषय बाहिर चर्चा गर्नुभन्दा पार्टीभित्र र गठबन्धन दलभित्र छलफल गरेर टुङ्ग्याउनुपर्नेमा जोड दिएकी छन्। उनले भनिन्, “अहिले ठूलो दलको हैसियतमा कांग्रेसले दाबी गर्नुलाई अन्यथा मान्न मिल्दैन, तर बाहिरभन्दा पार्टी र गठबन्धनभित्रबाट आउनुपर्ने पर्छ ।” उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रधानमन्त्रीमा दाबी रहने संकेत समेत गरेकी छन् । पूर्वमन्त्रीसमेत रहेकी उनले राजनीतिक दलहरूले युवालाई पनि सम्मानजनकरूपमा अगाडि बढाउनुपर्ने सुझाव दिँदै युवाको जबर्जस्ती हस्तक्षेपभन्दा पनि नयाँ दृष्टिकोण र सोचका साथ अगाडि बढ्दा मुलुक सही मार्गमा जाने उनको भनाइ थियो ।
जनतासँग गरेको वाचा पूरा गर्छु : शिक्षामन्त्री पौडेल काठमाडौं।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले निर्वाचनमा जनतासँग गरेको वाचा आगामी पाँच वर्षमा पूरा गर्ने गरी आफू काममा लाग्ने बताएका छन् । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका मन्त्री पौडेलले आफ्नो निर्वाचन क्षेत्र बागलुङको ढोरपाटन नगरपालिकाका मतदातालाई धन्यवाद दिँदै पाँच वर्षमा जनतासँग गरेको विकास र समृद्धिको वाचा पूरा गर्ने बताएका हुन्। उनले निर्वाचनमा आफूले सार्वजनिक गरेका विकास र समृद्धिका योजनालाई पाँच वर्षमा पूरा गर्न हदैसम्मको प्रयासमा लाग्ने बताए । “अधुरा काम पूरा गर्दै नयाँ विकासे आयोजना थप गर्ने छु, आगामी पाँच वर्षमा जनताको आधारभूत विकास शिक्षा, स्वास्थ्य, खानेपानी र सडकजस्ता योजना हदैसम्म सफल बनाइने छ”, मन्त्री पौडेलले भने, “पाँच वर्षमा बागलुङको पश्चिम क्षेत्रमा धेरै विकासका ढोका खोलिनेछन् ।” उनले अबको केन्द्रीय र प्रदेश सरकारसमेत अहिलेको गठबन्धबाटै बन्ने जिकिर गरे । चुनावपछि जनताको साझा प्रतिनिधि भएको उल्लेख गर्दै मन्त्री पौडेलले पूर्वाधार विकासमा समान वितरण प्रणली लागू गरिने जानकारी दिए । उनले ढोरपाटन–साल्झण्डी सडक निर्माणलाई तीव्रता दिने, केन्द्रीय प्रसारण लाइनलाई विस्तार गरिने, आफ्नो क्षेत्रका ठूला सडकमा पक्की पुल निर्माण गर्ने र ढोरपाटनको आलुलाई प्रवद्र्धन गर्ने बताए।
काठमाडौंका तीन स्थानमा रहेका कपडा गोदाममा शिलवन्दी {भिडियोसहित} काठमाडौं। राजस्व अनुसन्धान विभागले काठमाडौंका तीन स्थानमा रहेका कपडा गोदाममा शिलवन्दी गरेको छ । भन्सार छलि गरि ल्याइएका सामान गोदाम गरिराखेको सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र बिभागको टोलीले छापा मारि तीन स्थानमा रहेका कपडा गोदाममा शिलवन्दी गरेको हो । नितेश इम्पेक्सको काठमाडौंको भेडासिंङ, क्षेत्रपाटी र भुरुङ्खेलमा रहेको कपडा गोदाममा शिलवन्दी गरिएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरिक्षक कृष्ण प्रसाद कोईरालाले जानकारी दिए । उनले शुक्रबारदेखि बिभागले शिलवन्दी गरेका स्थानमा थप अनुसन्धान गर्ने बताए । गोदाममा भन्सार छलि गरि ल्याइएका ठूलो परिणाममा थान कपडा रहेको आशंका गरिएको उनले बताए । छापा मार्दा बिज, बिजक फेला नपरेकाले सिलबन्दी गरिएको प्रहरीले जनाएको छ । हेर्नुहोस् भिडियो:
फस्ट माइक्रोफाइनान्सले गर्‍यो २० प्रतिशत लाभांश घोषणा काठमाडौँ। फस्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरूका लागि लाभांश घोषणा गरेको छ। संस्थाको बिहीबार बसेको सञ्‍चालक समितिको बैठकले यस्तो घोषणा गरेको हो। गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) लाभांश वितरण गर्न लागेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएसँगै वार्षिक साधारणसभाबाट पारित गरेपछि सेयरधनीलाई वितरण गरिने संस्थाले जनाएको छ। हाल लघुवित्तको चुक्ता पुँजी ९६ करोड ४४ लाख ९२ हजार चार सय रुपैयाँ छ। जसअनुसार संस्थाले १८ करोड ३२ लाख ५३ हजार पाँच सय ५६ रुपैयाँ बराबर बोनस सेयर बाँड्ने छ। ९६ लाख ४४ हजार ९ सय २४ रुपैयाँ कर प्रयोजनका लागि नगद लाभांश छुट्याइएको छ।
एउटै व्यक्ति चोरी मुद्दामा पाँचौँपटक पक्राउ काठमाडौं । नेपाल प्रहरीले बूढानीलकण्ठ क्षेत्रमा चार लाख ८८ हजार चोरी गर्ने एक जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले बूढानीकलकण्ठ नगरपालिका–१० आसपासका क्षेत्रमा चोरी गर्ने गोकर्णेश्वर नगरपालिका–४ सुन्ताखानका ४२ वर्षीय राजु गुरुङलाई बिहीबार साँझ पक्राउ गरेको हो । पक्राउ तामाङ यसअघि पनि पटक–पटक चोरी गर्ने कार्यमा सङ्लग्न रहेको अनुसन्धानमा खुलेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। तामाङ यसअघि विसं २०६९ मा जिल्ला प्रहरी परिसर ललितपुरबाट चोरी मुद्दामा रु २५ लाख धरौटीमा छुटेको, २०७२ मा प्रहरी वृत्त स्वयम्भूबाट सार्वजनिक अपराध मुद्दामा पक्राउ, २०७५ मा प्रहरी वृत्त बौद्धबाट चोरी मुद्दामा पक्राउ परी अदालतबाट रु १८ लाख धरौटीमा छुटेको र गत साउनमा प्रहरी वृत्त बानेश्वरबाट चोरी मुद्दामा पक्राउ परी अदालतबाट रु तीन लाख धरौटीमा छुटेका व्यक्ति हुन् । प्रहरीले पक्राउ तामाङसँग एक हजार दरको नोट चार सय नौ थान, पाँच सय दरको नोट ८० थान, एक सय दरको नोट एक सय ७५ थान, ५० दरको नोट एक सय ७५ थान, २० दरको नोट तीन सय ५० थान, १० दरको नोट चास सय ४० थान र पाँच दरको नोट एक सय ८० थान बरामद गरेको छ । पक्राउ तामाङलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद–२० को चोरीसम्बन्धी कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रवक्ता मैनालीले बताएका छन् ।
पक्की पुल निर्माणको काममा ढिलाइ, आठ वर्षमा ४० प्रतिशत काम चितवन। भरतपुर महानगरपालिका र तनहुँको आबुँखैरेनी गाउँपालिकालाई जोड्ने घुमाउनेको पक्की पुल निर्माणको काममा ढिलाइ भएको छ । पुल निर्माण सुरु भएको आठ वर्षमा जम्मा ४० प्रतिशत काम सम्पन्न भएको हो । पोखरालाई तराईसँग जोड्ने सबैभन्दा छोटो दूरीको बुद्धसिंह राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्डको घुमाउनेमा २०७१ असार २९ गते सम्झौता गरेर पुल निर्माणको काम अघि बढाइएको थियो । अहिलेसम्म पुलको दुईतर्फी पिलरको जग हाल्ने काम मात्र भएको छ । निर्माण कम्पनीले विभिन्न कारण देखाउँदै पुल निर्माणको काम अलपत्र पारेको सडक डिभिजन कार्यालय दमौलीका इञ्जीनियर विकेश लागेले बताए। उनले पुल निर्माणका लागि चारपटकसम्म म्याद थप गरिसकिएको जानकारी दिए। पुल निर्माणको जिम्मा हेटौँडास्थित मृत सञ्जीवनी निर्माण कम्पनीले लिएको हो । पछिल्लोपटक थपिएको अन्तिम म्याद २०८० असार मसान्तसम्म छ । पछिल्लो सम्झौताअनुसार पनि काम नभए निर्माण कम्पनीलाई कालोसूचीमा राखिने इञ्जीनियर लागेले बताए। उक्त पुलको निर्माणपछि चितवन आउन पोखरा, बाग्लुङ, पर्वत, बेनी, स्याङजा र दमौलीका बासिन्दाले डुम्रे, आबुँखैरेनी र मुग्लिन सडक प्रयोग गर्नुपर्दैन । पुल फुटपाथसहित ११ मिटर चौडाइको हुनेछ । दोहोरो लेनको पुलमा ७।५ मिटर गाडी हिँड्ने भाग रहनेछ । अहिले पनि तनहुँको दमौलीबाट घुमाउनेघाटसम्म नियमितरूपमा साना बस चलेका छन् । तर पुल नहुँदा ती सवारी नारायणगढ–मुग्लिन सडकखण्डसम्म आइपुग्न सक्दैनन् । दमौलीबाट घुमाउनेसम्म ३२ किलोमिटर दूरी छ । एक सय पाँच मिटरको आर्क डिजाइनको उक्त पुल भ्याटसहित रु नौ करोडको लागतमा निर्माण गर्न लागिएको हो । पुल निर्माणपश्चात नारायणगढबाट दमौली जान हाल सञ्चालन भइरहेको नारायणगढ–मुग्लिङ सडकको भन्दा २३ किलोमिटरको दूरी छोटो पर्छ ।
झापामा दुर्घटनामा परि दुईजनाको मृत्यु झापा। झापामा छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको दमक–९ स्थित क्याम्पसमोढ सडकखण्डमा मोटरसाइकलको ठक्करबाट गए राति एक जनाको मृत्यु भएको छ । अर्का एक गम्भीर घाइते भएका छन् । इलाका प्रहरी कार्यालय दमकका अनुसार गए राति पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र१–०१–०१६प८९९ नंको मोटरसाइकलको ठक्करबाट पैदलयात्री ४० वर्षीय गोपाल राईको मृत्यु भएको हो । मृतक राईको ठेगाना भने खुलेको छैन । उनको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । टिपरको ठक्करबाट बालिकाको मृत्यु: यसैगरी बिहीबार टिपरको ठक्करबाट भद्रपुरमा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका–७ स्थित मेघाटोलकी ११ वर्षीया शिल्पा ऋषिदेव रहेकी जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । भद्रपुर–७ स्थित गार्मेटचोकबाट हल्दिबारीतर्फ गइरहेको प्र–१–००१–क–७७ नंको टिपरले सोही दिशातर्फ गइरहेको साइकलयात्री ऋषिदेवलाई ठक्कर दिएको थियो । टिपरको ठक्करबाट गम्भीर घाइते उनको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
आलु उत्पादन गरेर जीविकोपार्जन गर्दै सिन्धुपाल्चोकका किसान सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको उच्च पहाडी क्षेत्रका साथै तल्लो क्षेत्रका किसानका निम्ति पछिल्लो समय आलुखेती आम्दानीको गतिलो माध्यम बनेको छ । अन्य खेतीको तुलनामा आलुबाट बढी फाइदा हुने भएपछि किसान आलुखेतीमा आकर्षित भएका हुन् । जिल्लाको मध्यभागमा पर्ने ब्रम्हायणी नदी आसपासका सेराफाँट, अर्चलेफाँट, सिम्लेफाँट, कुविण्डेफाँट आलुखेतीले हरियाली भएका छन् । आलु लगाएर यस क्षेत्रका किसानले वार्षिक रु एक करोडभन्दा बढी आम्दानी गरिरहेको स्थानीय रवीन्द्र खड्का बताउँछन् । कुविण्डेका किसान गोविन्द सापकोटाका अनुसार हिउँद र वर्षात् दुवै याममा पानी लाग्ने नौबिसेफाँटमा धानखेती गर्दा मुस्किलले चार–पाँच बोरा उत्पादन हुने गर्दथ्यो । त्यही खेतमा आलु लगाउँदा रु ९० हजारसम्मको आम्दानी गर्दै आएको बताउछन् । आलुखेतीबाट पर्याप्त आम्दानी भएपछि बतासे रानीटारका केदारनाथ काफ्लेले पनि पाँच वर्षदेखि आलुखेती लगाउँदै आइरहेको र यसपाला करिब रु १५ हजार खर्च गरेर आलुखेती गरेको बताए। यसबाट कम्तीमा रु ६०–७० हजार आम्दानी हुने उनको आश छ । ब्रम्हायणी नदी आसपासका फाँटमा सिँचाइ सुविधा प्रशस्त भएकाले पनि किसानलाई आलुखेती लगाउन निकै सुविधा भएको फुल्पिङकोटका प्रेमबहादुर भण्डारीको भनाइ छ । उता इन्द्रावती नदी दायाँ–बायाँका खेत पनि आलुखेतीले हरियाली भएका छन् । आलुखेतीबाट मनग्य आम्दानी भएपछि किसान आलुखेती लगाउन हौसिएका छन् । विगतमा गहुँखेती लगाएर जीविकोपार्जन गर्दै आएका किसान आलुखेतीमा समर्पित भएपछि यस क्षेत्रका बासिन्दाको आम्दानीमा सुधार भएको इन्द्रावती गाउँपालिका–१२ भीमटारका वडाध्यक्ष सुरेन्द्र दनुवार बताउछन् । आलुखेती लगाएरै इन्द्रावती नदी आसपासका बासिन्दाले वार्षिक करोडौँ रुपैयाँ गाउँ भित्र्याउन सफल भएको दनुवारले बताए। आलु र तरकारी खेतीमा किसान लागेकाले यसलाई व्यवस्थित पार्न सिपाघाटमा तरकारी सङ्कलन केन्द्र स्थापना गरिएको सिपापोखरेका सीताराम श्रेष्ठले जानकारी दिए। जिल्लाको उच्च पहाडी भू–भागमा उत्पादन हुने आलु पूर्णरूपमा अग्र्यानिक हुने भएकाले पछिल्लो समय यहाँ उत्पादन हुने आलुले राजधानीमा समेत राम्रो बजार लिएको मुडे आलु विकास केन्द्रले जनाएको छ ।
बाजुरामा कांग्रेसका बद्रीप्रसाद पाण्डेको सुरुवाती अग्रता बाजुरा । बाजुरामा नेपाली कांग्रेसका नेता बद्रीप्रसाद पाण्डेले सुरुवाती अग्रता लिएका छन् । बिहीबार बेलुकादेखि सुरु भएको मतगणनाको पहिलो चरणमा सार्वजनिक भएको परिणाम अनुसार कांग्रेसका पाण्डेले २ सय ८० मत ल्याएका छन् । उनलाई नेकपा एमालेका कर्ण थापाले १ सय ७ मतका साथ पछ्याइरहेका छन् ।
बालेन र नेपालका लागि अमेरिकाका राजदूत थम्पसनबीच भेटवार्ता काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) सँग नेपालका लागि अमेरिकाका राजदूत डीन आर. थम्पसनले परिचयात्मक शिष्टाचार भेट गरेका छन् । भेटका लागि राजदूत थम्पसन प्रमुखको कार्यकक्ष राष्ट्रिय सभा गृह आएका थिए । भेटका क्रममा प्रमुख शाहले, काठमाडौँ मौलिक सांस्कृतिक सम्पदाले भरिएको जीवन्त सहर भएको बताए । सहरको जीवन्तता संरक्षण र प्रवर्धनका महानगरका लागि प्राथमिक कार्यक्रम रहेको उनको भनाइ थियो । त्यस क्रममा राजदूत थम्पसनले काठमाडौँसँग संयुक्त राज्य अमेरिकाका विभिन्न सहरहरुसँग भगिनी सम्बन्ध रहेको बताउँदै नगर र नागरिक स्तरीय दिगो सम्बन्धका लागि आफू प्रतिवद्ध रहेको धारणा राखेका थिए । त्यस क्रममा आपसी सिकाई तथा हित प्रवर्धनका विषयमा कुराकानी भएको थियो । त्यस क्रममा सम्पदा संरक्षण तथा प्रवर्धन, सहरी विकासका आपसी सिकाई र अभ्यास तथा द्विपक्षीय सम्बन्धमा विषयमा कुराकानी भएको थियो । अमेरिकाका फेडरिसवर्ग, बोल्डर, युजिन सहर र रोचेष्टर सहरसँग काठमाडौँ महानगरको भगिनी सम्बन्ध छ ।
राखेपका पूर्व सदस्य सचिव सिंहको निधन काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य सचिव किशोरबहादुर सिंहको निधन भएको छ । गए राति एक्कासी स्वास्थ्यामा समस्या देखिएपछि उपचारका लागि थापाथली स्थित नर्भिक अस्पतालमा भर्ना गरिएकोमा उनको उपचारकै क्रममा बिहीबार दिउँसो १२ः३० बजे निधन भएको बताइएको छ ।  सिंहको ७५ वर्षको उमेरमा निधन भएको छ । सिंह २०५९ देखि २०६३ सम्म राखेपको सदस्य सचिव भएका थिए । ब्याडमिन्टनका पूर्व खेलाडी समेत रहेका सिंह ६ पटक राष्ट्रिय च्याम्पियन भएका थिए ।  सिंह नेपाल ब्याडमिन्टन संघको अध्यक्षसमेत भएका थिए । स्वर्गीय सिंहको पार्थिव शरीरलाई बिहीबार नर्भिक अस्पतालमै राखिने र भोलि (शुक्रबार) उनकी छोरी लन्डनबाट स्वदेश फर्किएपछि टाँहाचल स्थित घरमा लगेपछि शुक्रबार नै अन्तिम दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । स्वर्गीय सिंहको श्रीमती र एक छोरी छन् ।
चन्द्रागिरिमा दिगो पर्वतीय पर्यटनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरू काठमाडौं । दिगो पर्वतीय पर्यटनसम्बन्धी तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि सुरु भएको छ । चन्द्रागिरिस्थित चन्द्रागिरि हिल्स रिसोर्टमा उक्त सम्मेलन सुरु भएको हो । सम्मेलनको संस्कृति पर्यटन तथा नागरिक उड्डययनमन्त्री जीवनराम श्रेष्ठले उद्घाटन गरेका छन् । उद्घाटन समारोहमा बोल्दै मन्त्री श्रेष्ठले नेपालको पर्वतीय पर्यटनमा आवश्यक पर्ने नीतिगत परिवर्तनका लागि यो सम्मेलन कोसेढुंगा बन्ने बताए । उक्त सम्मेलनमा झण्डै एक सय पर्यटन सम्बद्ध व्यक्ति तथा वैज्ञानिकलगायतको सहभागिता रहने बताइएको छ । सम्मेलनमा दिगो पर्वतीय क्षेत्रमा भएका अनुसन्धान तथा  विश्व जलवायु परिवर्तनको समयमा पर्वतीय पर्यटन क्षेत्रका समस्या समाधान बारेमा छलफल हुने पनि जनाइएको छ ।
बालेनविरुद्धको नाराबाजीप्रति मधेसी आयोगको चासो, कारबाही गर्न गृहमा पत्राचार काठमाडौं । मधेसी आयोगले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध नाराबाजी गरेको भिडियोमा मधेसी समुदायमाथि अपमानजनक शब्द प्रयोग गरिएको भन्दै यसमा संलग्नलाई कारबाही गर्न गृह मन्त्रालय र प्रहरीलाई आग्रह गरेको छ । आयोगले बिहीबार जारी गरेको विज्ञप्तिमा बागमती किनारका सुकुम्बासी हटाउन काठमाडौं महानगरले गरेको प्रयासको विरोध गर्दै सामाजिक सञ्जालमा राखिएका भिडियोमा मधेसी समुदायमाथि धोती, मधेसी, भिखारी जस्ता अपमानजनक गालीगलौज गरिएको भन्दै त्यसमा संलग्नलाई कारबाही गर्न गृह मन्त्रालय र प्रहरीलाई सिफारिस गरेको उल्लेख छ । यस्ता कार्यले सामाजिक सदभावमा असर पुग्ने, राष्ट्रिय एकता खलल पर्ने भन्दै आयोगले पाँच पृष्ठको पत्र गृह मन्त्रालय र नेपाल प्रहरीलाई बुझाएको आयोगकी उपसचिव सविता डंगोलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
स्याङ्जा २ मा १६९२ मतसहित गुरुङको अग्रता, पछ्याउँदै अर्याल काठमाडौैं । स्याङ्जा २ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले १६९२ मतसहित अग्रता कायम गरेका छन् । उनले पछिल्लो मतगणनाअनुसार ६,६२५ मत ल्याएका छन् । एमाले उम्मेदवार पद्मा अर्यालले ४,९३३ मत पाएकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले एक हजार ८७५ मत  प्राप्त गरेका छन् । ४ मंसिरमा सम्पन्न आमनिर्वाचनका क्रममा धाँधली भएको भन्दै दलबहरूबीच आरोपप्रत्यारोप भएपछि मतगणना हुन सकेको थिएन । बुधबार पुनः मतगणना गर्न निर्वाचन आयोगले निर्देशन दिएपछि मत गन्न थालिएको हो । स्याङ्जा २ मा ७० हजार मत खसेको छ ।
कर्णाली स्वाथ्य विज्ञान प्रतिष्ठानको बेथितिः ११ महिनामा १२ सय जनाको बिमा कार्ड हरायो जुम्ला । चन्दननाथ नगरपालिका–५ की राइदेवी कार्की चार महिनाअघि कर्णाली स्वास्थ्य प्रतिष्ठानमा स्वास्थ्य उपचारका लागि गएकी थिइन् । मधुमेहकी रोगी कार्कीले स्वास्थ्य बिमा गरेको आधारमा उपचारका लागि प्रतिष्ठान गएकी हुन् । प्रतिष्ठानमा टिकट काट्ने एक कर्मचारीले बिमा कार्ड राखेर रातो पुर्जी दिएर भित्र पठायो । उपचार गरेर फर्किदा कार्ड लिन उनले भुलिन् । पछि खोज्दा प्रष्ठिानले कार्ड हरायो भनेर फर्काइ दियो । तातोपानी–२ की रामदेवी बुढाले पनि नयाँ कार्ड बनाइदिन भन्दै स्वास्थ्य बिमा बोर्डमा निवेदन दिएकी छिन् । उनको कार्ड पनि प्रष्ठिानले नै हराइदिएको हो । कार्की र बुढा त प्रतिनिधि पात्र मात्रै हुन् । जुम्लामा पछिल्लो ११ महिनामा एक हजार दुई सय ५० जनाले हराएको भन्दै नयाँ कार्ड बनाएका छन् । यसमध्ये अधिकांश उपचारका क्रममा हराएको बताउने गरेका छन् । सरकारले विपन्न नागरिकको उपचारमा सहज होस भनेर स्वास्थ्य बिमा कार्यक्रम लागु गरेको हो । तर, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको लापरवाहीका कारण उपचार गरेनै पिच्छे जुम्लाबासीले नयाँ कार्ड बनाउनु पर्ने अवस्था छ । स्वाथ्य बिमा बोर्ड जुम्लाका अनुसार जुम्लामा ६२ हजार नागरिककले स्वाथ्य बिमा गरेका छन । कार्कीका अनुसार प्रतिष्ठानका कर्मचारीले सुरुमै कार्ड मागेर आफैसँग राख्छन् र रातो पुर्जी दिन्छन् । उक्त पुर्जीले उपचार भए पनि कार्ड भने तीन बजेपछि मात्रै दिने गर्छन । टाढा घर हुने सर्वसाधारण उक्त कार्ड अर्को दिन लिने भन्दै जाने गर्छन र पछि आउँदा हराएको जवाफ पाउँछन् । स्वाथ्य बिमा बोर्ड जुम्लाका संयोजक कमल रावतका अनुसार ११ महिनामा नयाँ कार्ड बनाएर ६२ हजार रुपैयाँ संकलन भएको छ । कार्ड बनाउन आउने अधिकांशले उपचारको क्रममा हराएको जवाफ दिने गरेका छन् । हराएको कार्ड पुनः बनाउँदा एउटाको ५० रुपैयाँ लाग्छ । उपचारअघि बिमा कार्ड प्रतिष्ठानले राख्नै पर्ने हो र ? प्रतिष्ठानले बिमा कार्ड जमानत राखेर मात्रै उपचार गर्ने गरेको छ । कार्ड राखेर रातो पुर्जा दिने र सोही दिन ३ बजे कार्ड फिर्ता गर्ने नियम बनाएको छ । तर, यो नियम नेपाल सरकारले बनाएको भने होइन । प्रतिष्ठानले आफ्नो सहजताका लागि बिरामीलाई दुःख दिने गरेको सेवाग्राहीहरूको आरोप छ । उपचार सकिएपछि पनि कार्डकै लागि कुर्न पर्ने हुँदा बिरामीले थप दुःख पाउने गरेका छन् । संयोजक रावतका अनुसार प्रतिष्ठानले एउटा बिमितको कार्डबाट बिमा नै नगरेकाको समेत उपचार गर्दै आएको फेला परेको बताए । उनले भने, ‘प्रतिष्ठानको लापर्वही बढ्दो छ । बिरामीले ल्याएको बिमा कार्ड आधिकारिक हो होइन समेत जाँच गर्दैन ।’ उनका अनुसार बिमा गरेका नागरिक उपचार गर्न आउदा कार्ड स्यान गरेर बिरामीलाई नै फिर्ता दिनुपर्छ । तर, प्रतिष्ठानले कार्ड नै जमानत राखेर रातो पुर्जी दिँदा नागरिकले हरेक पटक नयाँ कार्ड बनाउनु पर्ने बाध्यता छ । बिमा अनुसारको औषधि नपाएको गुनासो बिमा गरेका नागरिकले सरकारले तोकेअनुसारको औषधि समेत नपाएको गुनासो गरेका छन् । मेडिसिन सिटीक्यान गर्दा बिमाबाटै उपचार पाउनु पर्ने उल्लेख छ । तर, प्रतिष्ठानका कर्मचारीले छुट्टै पैसा उठाउने गरेका छन् । इन्टरनेटको समस्याले कार्ड राख्ने गरेका हौं ः प्रतिष्ठान कर्णाली स्वाथ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता रमेश भट्टराई जुम्लामा इन्टरनेटको समस्याका कारण सधै कार्ड स्क्यान गर्न नमिल्ने गरेको बताउँछन् । त्यसै कारण बिरामीलाई रातो पुर्जी दिने र पछि कार्ड फिर्ता गर्ने गरेको उनको भनाइ छ । कार्ड स्क्यान गरेर उपचारमा जाँदा ढिला हुने भएकाले यो स्टिम लागु गरेको उनको भनाइ छ । बिरामीलाई पुर्जा दियर उपचार गराउने अनि कार्ड बिस्तारै स्यान गर्ने गरेको उनले बताए । स्वास्थ्य बिमा कार्यक्रमका लागि प्रतिपरिवारबाट वार्षिक तीन हजार पाँच सय बुझाउनुपर्छ । उनीहरूले प्रतिव्यक्ति एक लाखसम्मको उपचार पाउने गर्छन ।
निर्वाचन सकिएकाे ११ दिनपछि बाजुरामा मतगणना सुरु हुँदै काठमाडौं । निर्वाचन भएको ११ दिनपछि बाजुरामा मतगणनाको तयारी भएको छ । एमाले र कांग्रेसबीच विवादका कारण बाजुराको मतगणना रोकिएको थियो । विवादका कारण बुढीनन्दा नगरपालिकामा मतदान स्थगित भएको थियो । १० मंसिरमै पुनः मतदान भए पनि गणना भएको थिएन । बुधबार निर्वाचन आयोगले स्याङ्जा २ र बाजुरामा पुनः मतदान गर्नु नपर्ने निर्णय गर्दै मतगणना अघि बढाउन निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको थियो । स्याङ्जा २ मा बुधबार रातिदेखि नै मतगणना जारी छ । तर बाजुरामा एमालेका प्रतिनिधि सर्वदलीय बैठकमा उपस्थित नभएपछि बिहीबार बिहानका लागि बैठक सारिएको थियो । बिहान बसेको सर्वदलीय बैठकले दिउँसो साढे ३ बजेदेखि मतगणना गर्ने निर्णय गरेको थियो । जसअनुसार केहीबेरमै मतगणना सुरु हुने निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । बाजुरामा कांग्रेसबाट सहमहामन्त्री बद्री पाण्डे र एमालेका कर्णबहादुर थापाबीच प्रतिस्पर्धा छ ।
अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रसँग सहकार्य आवश्क : महामन्त्री थापा काठमाडाैं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि निजी क्षेत्रसँग सहकार्य आवश्यक रहेको बताएका छन्। नेपाल आर्थिक पत्रकार (समाज)को २६औं वार्षिकोत्सव कार्यक्रममा बिहीबार आयोजित कार्यक्रममा बोल्दै उनले अब बन्ने सरकारले निजी क्षेत्रसँग सहकार्य गरी अघि बढ्ने बताए। “मुलुकको अर्थतन्त्र यहीँ अवस्थामा चल्न सक्दैन”, उनले भने, “अब बन्ने सरकारले यो कुरालाई महसुस गरी प्राथमिकताका साथ निजी क्षेत्रको सहकार्यमा काम गर्नेछ।” अर्थतन्त्र सबल बनाउनका लागि निजी क्षेत्रको साथ आवश्यक भएको उनको भनाइ छ। कार्यक्रममा बोल्दै नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले पनि मुलुकको अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रको साथ आवश्यक भएको बताए। “निजीकरण मोडेलमा त्रुटि भए सुधार गर्नुपर्छ”, उनले भने, “अर्थतन्त्र चलायमान बनाउनका लागि सही नीति र सही नेतृत्व आवश्यक छ।”
स्याङ्जा–२ मा कांग्रेसका गुरुङको अग्रता वालिङ। स्याङ्जा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले अग्रता कायम रहेको छ। उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) की पद्माकुमारी अर्याललाई ६ सय ५४ मतान्तरले पछि परेका छन्। निर्वाचन अधिकृत रामचन्द्र शर्माका अनुसार हालसम्म कांग्रेसका गुरुङले तीन हजार नौ सय एक मत प्राप्त गरेका छन्। एमाले उम्मेदवार अर्यालले तीन हजार दुई सय ४७ मत प्राप्त गरेकी छन्। स्याङ्जा–२ मा गए रातिदेखि मत गणना सुरु भएको हो। हालसम्म गल्याङ नगरपालिको वडा नं ६ र ७ तथा भीरकोट नगरपालिकाको वडा नं ५, ६, ७ र ८ को मतगणना सकिएको छ। यसैगरी क्षेत्र नं २ (१) मा कांग्रेस उम्मेदवार भोजराज अर्यालले चार हजार ८३ मत प्राप्त गरेका छन्। एमालेका मोहन रेग्मीले तीन हजार तीन सय २९ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत शर्माले जानकारी दिए। दुवैबीचको मतान्तर सात सय ५४ रहेको छ। निर्वाचन सम्पन्न भएको दश दिन पछि स्याङ्जा–२ मा मतगणना सुरु भएको हो।
रुसले भारतसँग सहयोग माग्यो ! काठमाडौं । अमेरिकालगायत धेरै पश्चिमी देशहरूले लगाएको आर्थिक प्रतिबन्धबीच रुसले भारतसँग विशेष सहयोग मागेको छ । रोयटर्सका अनुसार रुसले भारतलाई कार, रेल र विमानका पार्टपुर्जालगायत ५०० भन्दा बढी उत्पादन निर्यात गर्न भनेको छ । यद्यपि यस विषयमा भारत वा रुसबाट अहिलेसम्म कुनै आधिकारिक पुष्टि भएको छैन । ‘रोयटर्स’का अनुसार रुसले पठाएको सूचीमा यीमध्ये कति उत्पादन भारतले रुसमा निर्यात गर्नेछ भन्ने स्पष्ट छैन। तर, भारत सरकारका स्रोतहरूले रुसको यो अनुरोधलाई ‘असामान्य’ भनेका छन्। योसँगै भारतले पनि यो अनुरोधलाई अवसरको रुपमा हेरिरहेको छ । यो सम्झौताले रुससँग बढ्दो व्यापार घाटा कम गर्न मद्दत गर्नेछ। यद्यपि, केही कम्पनीहरूले चिन्ता व्यक्त गरेका छन् कि यी निर्यातहरू रूस विरुद्ध पश्चिमी प्रतिबन्धहरूको उल्लङ्घन हुन सक्छ। रुसी उद्योग क्षेत्रसँग आवद्ध एक व्यक्तिले नाम न छाप्ने सर्तमा ‘रोयटर्स’ लाई रुसको उद्योग तथा व्यापार मन्त्रालयले ठूला कम्पनीलाई कच्चा पदार्थ र अन्य अत्यावश्यक उपकरणको सूची पठाउन आग्रह गरेको बताए । उत्पादनको परिमाण दुई देशबीचको वार्तापछि तय गरिने उनले बताए । रुसी स्रोतको विश्वास गर्ने हो भने भारत मात्र नभई रुसले अन्य धेरै देशबाट पनि यस प्रकारको व्यापार बढाउने प्रयास गरिरहेको छ । रुसी कार उद्योगसँग सम्बन्धित स्रोतले उसको सरकारले कारका पार्टपुर्जाको सूची सम्बन्धित मन्त्रालय, एजेन्सी र भारतलगायत धेरै देशलाई पठाएको बताएको छ । तर, रुसको उद्योग तथा व्यापार मन्त्रालय र भारतको परराष्ट्र तथा वाणिज्य मन्त्रालयले पनि यसबारे तत्काल प्रतिक्रिया दिन अस्वीकार गरेको छ । भारतीय स्रोतका अनुसार भारतका विदेशमन्त्री एस जयशंकरको मस्को भ्रमणको केही साताअघि रुसले यस्तो अनुरोध गरेको थियो । एस जयशंकर नोभेम्बर ७ मा रुसको भ्रमणमा थिए । तर, रुसको अनुरोधमा भारतको प्रतिक्रियाको बारेमा कुनै जानकारी छैन। मस्को भ्रमणका क्रममा जयशंकरले द्विपक्षीय व्यापार सन्तुलनमा राख्न भारतले रसियासँग निर्यात बढाउन आवश्यक रहेको बताएका थिए । अहिले भारत र रुससँग व्यापार घाटा चलिरहेको छ । रुस भारतलाई सबैभन्दा ठूलो हतियार आपूर्ति गर्ने देश हो। जबकि रुस औषधि क्षेत्रमा भारतको लागि चौथो ठूलो बजार हो। तर हालै भारतले रुसबाट कच्चा तेल, कोइला र मलको ठूलो मात्रामा खरिद गरेपछि व्यापार सन्तुलन बिग्रिएको छ । त्यसैले दुई देशबीच सन्तुलित द्विपक्षीय व्यापार होस् भन्ने भारत चाहन्छ । रुसले पठाएको सूची करिब १४ पृष्ठको छ । कार इन्जिन पार्ट्स जस्तै पिस्टन, तेल पम्प र रिंग यस सूचीमा समावेश छन्। अन्य उत्पादनहरूमा विमान र हेलिकप्टरका भागहरू जस्तै ल्यान्डिङ गियर, इन्धन प्रणाली, सञ्चार प्रणाली, आगो निभाउने उपकरण र विमानका पाङ्ग्राहरू समावेश छन्। कच्चा पदार्थको सूचीमा कागजको झोला, ग्राहक प्याकेजिङ झोला र कपडा उत्पादनहरू समावेश छन्। यस सूचीमा २०० भन्दा बढी मेटालर्जी वस्तुहरू जस्तै खानाका भाँडाहरू र साइकलका पार्टहरू आदि समावेश छन्। युक्रेनमा युद्ध सुरु भएदेखि नै भारत र रुसबीचको व्यापार घाटा बढ्दै गएको छ । भारतले २४ फेब्रुअरी देखि २० नोभेम्बर २०२२ सम्म २९ अर्ब डलर आयात गरेको छ । जुन गत आवको सोही अवधिमा ६ अर्ब डलरको आयातको तुलनामा पाँच गुणा बढी हो । योसँगै भारतबाट रुसतर्फको निर्यातमा पनि कमी आएको छ । सोही अवधिमा भारतले १ अर्ब ९ करोड डलर मात्रै निर्यात गरेको छ । जबकि गत वर्ष यो संख्या २.४ अर्ब डलर थियो । सरकारी स्रोतका अनुसार रुसको अनुरोध प्याकेजबाट आगामी केही महिनामा भारतको निर्यात १० अर्ब डलर नाघेको छ, जसले व्यापार घाटा कम गर्न मद्दत गर्नेछ। यद्यपि धेरै भारतीय कम्पनीहरूले यो आदेश लिनबाट पन्छिन कोसिस गर्दैछन्। पश्चिमी देशहरूले यो कदमलाई आर्थिक प्रतिबन्धको उल्लङ्घनका रूपमा लिएर प्रतिबन्ध लगाउन सक्छन् भन्ने डर उनीहरूलाई छ। भारतले धेरै मामिलामा आफूलाई पश्चिमी देशहरूले लगाएको प्रतिबन्धभन्दा फरक ठान्दै आएको छ। फेब्रुअरीदेखि रुस–युक्रेन युद्ध जारी रहे पनि भारतमा रुसी कच्चा तेलको आयातमा उल्लेख्य वृद्धि भएको छ । योसँगै भारतले युक्रेनमा रुसले गरेको आक्रमणको विश्वव्यापी मञ्चमा खुलेर निन्दा गर्नबाट पन्छिएको छ ।
बैतडीमा १९ हजार बढि मत बदर बैतडी। यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बैतडीमा करिब १९ हजार सात सय ७१ मत बदर भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रतिनिधिसभा सदस्य प्रत्यक्ष र समानुपातिक तथा प्रदेशसभा प्रत्यक्ष र समानुपातिक गरी सो सङ्ख्यामा मत बदर भएका हुन् । प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ ७७ हजार चार सय ६० मत खसेका थिए । जसमध्ये चार हजार नौ सय ६२ मत बदर भएका छन् । प्रदेशसभा क्षेत्र नं १ मा प्रत्यक्षतर्फ ४० हजार एक सय ५५ मत खसेकामा दुई हजार १३ मत बदर भए । प्रदेशसभा क्षेत्र नं २ मा प्रत्यक्षतर्फ ३७ हजार दुई सय ८० मत खसेकामा एक हजार आठ सय २० मत बदर भएका छन् । प्रतिनिधिसभा सदस्य समानुपातिकतर्फ ७७ हजार सात सय ६१ मत खसेकामा पाँच हजार चार सय २१ मत बदर भएका छन् । प्रदेशसभा सदस्य समानुपातिकतर्फ ७७ हजार चार सय २३ मत खसेकामा पाँच हजार ५५ मत बदर भएका छन् । मतदाता शिक्षा कार्यक्रम प्रभावकारी नहुँदा यति धेरै सङ्ख्यामा मत बदर भएका हुन् । जिल्ला निर्वाचन कार्यालयका प्रमुख माधव फुँयाल भने मतदाता शिक्षा प्रभावकारी भएको दाबी गरे । उनले भने, “काठमाडौँजस्ता सहरमा पनि मत बदर भइरहेका छन्, यहाँ त यो सङ्ख्यामा मत बदर हुनु स्वभाविक हो । मतदाता शिक्षा प्रभावकारी नभएको भन्न मिल्दैन् ।” धेरैजसो बदर भएको मत एउटै मतपत्रमा रहेका दुई वा दुईभन्दा बढी चुनाव चिह्नमा स्वस्तिक छाप लगाएको भेट्टिएको फुँयालले बताए । उनले भने, “केही मतपत्रमा औँठाको छाप लगाएको भेट्टिएर बदर भएका छन् भने अधिकांशमा दुई वा दुईभन्दा बढी चिह्नमा छाप लगाएको पाइयो ।” यहाँका सबै वडामा स्वयंसेविका परिचालन गरेर १५ दिन समुदायस्तमै पुगेर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको थियो । बैतडीमा एक लाख ५० हजार एक सय ५६ मतदाता रहेकामा ७७ हजार चार सय ६० मतमात्रै खसेका थिए । प्रतिनिधिसभाका लागि एक र प्रदेशसभा सदस्यका लागि दुई क्षेत्र रहेको यस जिल्लामा २२ उम्मेदवार चुनावी मैदानमा रहेका थिए। यहाँ प्रतिनिधिसभामा नेकपा (एमाले) का दामोदर भण्डारी तथा प्रदेशसभा क्षेत्र नं १ मा एमालेकै सुरेन्द्र पाल र प्रदेशसभा क्षेत्र नं २ मा नेपाली कांग्रेसका शिवराज भट्ट विजयी भएका छन्।
स्याङ्जा र बाजुराको मतगणना गर्न कांग्रेसको आग्रह काठमाडौं । नेपाली कांग्रेसले स्याङ्जा क्षेत्र नं २ र बाजुराको मतगणना चाँडो गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति धनराज गुरुङ, केन्द्रीय सदस्य प्रदीप पौडेललगायतका नेताले आज प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र आयुक्तहरुलाई भेटेर स्याङ्जा–२ र बाजुराको मतगणना चाँडो सम्पन्न गर्न आग्रह गरेका हुन् । भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस वरिष्ठ नेता पौडेलले मतगणना चाँडो सुरु गर्न आग्रह गरिएको जानकारी दिए । स्याङ्जा र बाजुरामा विधिवदरुपमा निर्वाचन सम्पन्न भएको भन्दै मतगणना रोक्नु आवश्यक नभएको उनको भनाइ थियो । पार्टीका उपसभापति एवं स्याङ्जा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार धनराज गुरुङले निर्वाचन अधिकृतले समेत निर्वाचनमा धाँधली नभएको र कुनै पनि बुथ कब्जा नभएको राय दिइसकेकाले निर्वाचन आयोगले मतगणना सुरु गर्नुपर्ने बताए । स्याङ्जा क्षेत्र नं २ मा शान्तिपूर्णरुपमा मतदान भएको उनको भनाइ छ । उपसभापति गुरुङले निर्वाचन आयोगले निर्वाचन अधिकृतलाई मतगणना गर्न चाँडो निर्देशन दिने विश्वाससमेत व्यक्त गरे ।
काठमाडौंबाट सिमरा उडेको जहाजको ‘इन्डिकेटर’मा समस्या देखेपछि पाइलटले यसो गरे काठमाडौं । काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरेरै फिर्ता भएको छ । अपरान्ह ४ बजे सिमरा उडेको बुद्धको एटीआर जहाज सिमरामा अवतरण नगरेर काठमाडौं फिर्ता भएको हो । पाइलटले ‘इन्डिकेटर’मा समस्या रहेको देखेपछि सिमरामा अवतरण नगरी जहाज काठमाडौं फिर्ता ल्याउने निर्णय गरेको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ । काठमाडौंमा भने इमर्जेन्सी घोषणा नगरेर सामान्य अवस्थामै जहाज अवतरण गरिएको थियो । बुद्धको बीएचए ५५५ उडान नम्बर रहेको जहाज काठमाडौं अवतरण भएसँगै अर्को जहाजबाट यात्रुलाई सिमरा पठाउने तयारी भइरहेको विमानस्थलले जनाएको छ । जहाजमा ७० यात्रु सवार थिए ।
इनाथाइल ग्लाइकोल र डाइइथानाइल ग्लाइकोल रसायन प्रयोग गरिएको औषधि प्रयोग नगर्न आग्रह काठमाडौं । औषधि व्यवस्था विभागले बालबालिकाको लागि प्रयोग गरिने औषधिमा इनाथाइल ग्लाइकोल र डाइइथानाइल ग्लाइकोल रसायन मिसावट नभएको मात्र बिक्री वितरण गर्न आग्रह गरेको छ । बालबालिकामा प्रयोग हुने कतिपय झोल औषधिमा यी दुई विषाक्त रसायन मिसिएको हुनसक्ने भन्दै विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीले विज्ञप्ति जारी गरी सचेत रहन आग्रह गरेका छन्। जाम्बिया तथा इन्डोनेसियालगायत देशमा इनाथाइल ग्लाइकोल र डाइइथानाइल ग्लाइकोल रसायन मिसिएको औषधि बालबालिकामा प्रयोग गर्दा उनीहरूको मिर्गौलामा गम्भीर असर परी मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठनको प्रतिवेदनमा समेत उल्लेख गरिएको विभागले जनाएको छ । विज्ञप्तिमा विभागले ती दुवै रसायन मिसिएका औषधि भारतको माइडेन फर्मास्युटिकल्स लिमिडेट हरियानाबाट उत्पादन गरिएको प्रोमेथाजिन ओरल सलुसन, कोफेक्सामाइलिन बेबी कफ सिरफ, म्याकअफ वेवी कफ सिरफ र मागरिप एन कोल्ड सिरफ उत्पादन भइरहेको र ती उत्पादन गरिएका औषधि नेपालमा दर्ता नभएको समेत विज्ञप्तिमा विभागले स्पष्ट पारेको छ । विभागले औषधि उत्पादक कम्पनीलाई प्रोपलाइन ग्लाइकोल, पोलिथिनल्याइन ग्लाइकोल, सोरविटोल र ग्लासिरिनरग्लासिरोलजस्ता सहायक कच्चा पदार्थ प्रयोग भई नेपालमा उत्पादन तथा पैठारी हुने विशेष गरी झोल बनावटका औषधिमा इनाथाइल ग्लाइकोल र डाइइथानाइल ग्लाइकोल रसायनको मिसावट नभएको भनी यकिन गरी मात्र झोल औषधि बिक्री वितरण गर्न आग्रह गरेको छ ।
पूर्वाधार विकास कार्यालयका तत्कालिन निमित्त प्रमुख विरुद्ध मुद्दा दायर काठमाडौं । सल्यानको शारदा नगरपालिका–१५ अन्तर्गत पूर्वाधार विकास कार्यालयबाट अनियमितता भएको आरोपमा त्यहाँका तत्कालीन निमित्त कार्यालय प्रमुखलगायत विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरिएको छ । आर्थिक वर्ष २०७७/०७८ मा सडक निर्माण कार्यमा लागत अनुमानविपरीत कार्य गरी कागजमा सडक निर्माण भएको भनी देखाएर पूर्वाधार विकास कार्यालयका निमित्त कार्यालय प्रमुखलगायतले भ्रष्टाचार गरिएको पाइएको उल्लेख गरिएको छ । आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार पूर्वाधार विकास कार्यालय सल्यानका तत्कालीन निमित्त प्रमुख इन्जिनियर विनोद पुन, सवइन्जिनियर प्रकाश शाही र कुमार बोहोराले सडक निर्माणमा नगरेको कामको समेत विवरण चढाई प्रतिवेदन तयार पारेको पाइएको छ । उनीहरु विरुद्ध आयोगले रु सात लाख १४ हजार ४१ बराबरको बिगो दाबी गरेको छ । नापी किताबमा गलत विवरण तयार पारेर नक्कली बिल भर्पाई बनाइको पाइएकाले आरोपीसँग बिगोबमोजिमको कारबाही र कैद सजायको माग आयोगले गरेको छ । आयोगले सुन्दरडाँडा थाङनेखोला सडक निर्माण उपभोक्ता समितिका तत्कालीन अध्यक्ष कुलबहादुर बुढा, कोषाध्यक्ष नन्दकुमारी कवर र सचिव मानदेव कवरविरुद्ध रु सात लाख १४ हजार ४१ बराबरको भ्रष्टाचार गरेको आरोप लागेको छ ।
बाँकेमा ६४ हजार मत बदर बाँके । यही मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा बाँकेबाट मात्रै ६४ हजार एक सय ३८ मत बदर भएको देखिएको छ । बदर मतमध्ये प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ १५ हजार दुई सय २१, प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्ष निर्वाचन प्रणालीको १२ हजार एक सय ५६, प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ १६ हजार दुई सय ७० र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीको २० हजार चार सय ९१ मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । बाँकेको निर्वाचन क्षेत्र नं १ मा एक लाख २१ हजार एक सय मतदाता भएकामा खसेको मत ७५ हजार नौ सय ७४ थियो । खसेको सो मतमध्ये ७० हजार आठ सय ११ सदर भएको थियो भने पाँच हजार एक सय ६३ मत बदर भएको थियो । निर्वाचन क्षेत्र नं २ मा ९७ हजार आठ सय नौ मतदाता भएकामा ६७ हजार पाँच सय ११ मत खस्यो । खसेको मतमध्ये ६२ हजार ६ सय एक सदर भयो भने चार हजार नौ सय ५० बदर भयो । निर्वाचन क्षेत्र नं ३ मा एक लाख १३ हजार तीन सय २२ मतदाता भएकामा ७४ हजार एक सय ८२ मत खसेकामा ६९ हजार ७४ मत सदर भयो र पाँच हजार एक सय आठ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय बाँकेकी प्रमुख रमा पन्तले जानकारी दिइन् । निर्वाचन क्षेत्र नं १ को (१) मा ५५ हजार आठ सय ४५ मतदाता भएकामा ३३ हजार नौ सय पाँच मत खस्यो । खसेकामध्ये ३१ हजार ६ सय ९९ मत सदर र दुई हजार दुई सय ६ बदर भएको थियो । निर्वाचन क्षेत्र नं १ को (२) मा ६५ हजार दुई सय ५५ मतदाता भएकामा ४१ हजार दुई सय ४३ मत खसेको थियो । खसेका मतमध्ये ३९ हजार दुई सय ९५ मत सदर र एक हजार नौ सय ४८ मत बदर भयो । निर्वाचन क्षेत्र नं २ को (१) मा ५० हजार तीन सय १३ मतदाता भएकामा ३५ हजार ८ सय ६८ मत खसेको थियो । खसेकामध्ये ३३ हजार चार सय ८५ मत सदर र दुई हजार तीन सय ८९ मत बदर भएको थियो । निर्वाचन क्षेत्र नं २ को (२) मा ४७ हजार चार सय ९६ मतदाता भएकामा ३१ हजार पाँच सय ४५ मत खसेको थियो । खसेकामध्ये ३० हजार ५७ मत सदर र एक हजार पाँच सय ३८ मत बदर भयो । निर्वाचन क्षेत्र नं ३ को (१) मा ६१ हजार पाँच सय ९६ मतदाता भएकामा ४० हजार दुई सय ३२ मत खसेको थियो । सो मतमध्ये ३८ हजार एक सय ४५ मत सदर र दुई हजार ८७ बदर भयो । निर्वाचन क्षेत्र नं ३ को (२) मा ५१ हजार सात सय २६ मतदाता भएकामा ३३ हजार सात सय ३५ मत खसेको थियो । खसेको मतमध्ये ३१ हजार सात सय ४७ मत सदर र एक हजार नौ सय ८८ मत बदर भएको थियो । प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ निर्वाचन क्षेत्र नं १ मा ७५ हजार सात सय ७२ मत खसेकामा ६९ हजार सात सय ५६ सदर र पाँच हजार सात सय सात बदर भएको छ । निर्वाचन क्षेत्र नं २ मा ६७ हजार आठ सय ९४ मत खसेकामा ६२ हजार पाँच सय ५३ मत सदर र पाँच हजार तीन सय ४१ मत बदर भएको छ । निर्वाचन क्षेत्र नं ३ मा ७४ हजार पाँच सय ३० मत खसेकामा ६९ हजार तीन सय आठ सदर र पाँच हजार दुई सय २२ बदर भएको छ । प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ निर्वाचन क्षेत्र नं १ को (१), १ को (२), निर्वाचन क्षेत्र नं २ को (१), २ को (२), निर्वाचन क्षेत्र नं ३ को (१), ३ को (२) मा कूल खसेको दुई लाख १६ हजार नौ सय दुई मतमध्ये एक लाख ९६ हजार चार सय ११ मत सदर र २० हजार चार सय ९१ मत बदर भएको छ ।
सुकुम्वासी बस्ती आक्रमणबाट घाइते भएका तीन नगर प्रहरी आइसियुमा काठमाडौं । सोमबार दिउँसो थापाथलीस्थित सुकुम्बासी बस्तीका अवैध संरचना हटाउने क्रममा स्थानीयको आक्रमणमा परी घाइते भएका काठमाडौं महानगरका तीन जना प्रहरीको आइसियुमा राखेर उपचार भइरहेको छ । स्थानीयले ढुंगामुडा प्रहार गर्दा महानगर प्रहरी प्रमुख राजु पाण्डेसहित १८ जना घाइते भएका महानगरपालिकाले जनाएको छ । सोमबार साँझ एक विज्ञप्तिमार्फत महानगरले उक्त आक्रमणमा संलग्नहरूलाई कानून बमोजिम कारबाही गर्न प्रहरीमा उजुरी समेत गरेको जनाएको छ । उक्त आक्रमणमा संलग्न व्यक्तिहरूको नाम समेत खुलाई महानगरीय प्रहरी वृत्त टेकुमा जाहेरी दिएको महानगरको विज्ञप्तिमा उल्लेख छ ।
निर्वाचनले लोकतन्त्रको सुन्दर र स्वस्थ्य प्रतिस्पर्धाको राजनीति अघि बढ्ने सन्देश दिएको छः सुवास नेम्वाङ काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले निर्वाचनको परिणामले लोकतन्त्रको सुन्दर र स्वस्थ्य प्रतिस्पर्धाको राजनीति अघि बढ्ने सन्देश दिएको बताएका छन् । इलामबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भई काठमाडौंस्थित आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुराकानी गर्दै उनले निर्वाचनले दलहरू मिलेर देश र जनताकाहितमा काम गर्न प्रष्ट सन्देश दिएको उल्लेख गरे । ’जनताले सुनाएको निष्कर्षबाट निषेधको राजनीति पराजित भएको छ; जनताका अगाडि धेरै विषय र प्रश्न थिए,’ संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले भने, ’निर्वाचनले दिएको निष्कर्षले जनताको विजय भएको छ ।’ लोकतन्त्रमा विश्वास गर्ने शक्ति जनादेशअनुसार चल्नुपर्नेमा जोड दिँदै पूर्वसभामुख नेम्वाङले जनताले दलहरू मिलेर देश र जनताको हितमा काम गर्न दिएको निष्कर्ष अनुरुप आफ्नो दल अघि बढ्ने बताए । ’मलाई विश्वास छ, हामी मिलेर अघि बढ्दा मात्रै देश ठीक दिशातर्फ अघि बढ्छ,’ निर्वाचनले संविधान कार्यान्वयन गर्न राम्रो वातावरण प्रदान गरेको बताउँदै नेता नेम्वाङले भने, ’संविधान र नयाँ जनादेशको सन्देशअनुरुप जुनसुकै भूमिका निर्वाह गर्न हामी तयार छौँ।’ मिश्रित निर्वाचन प्रणालीबाट आएको परिणामले कुनै अस्थिरता ननिम्त्याउने स्पष्ट पार्दै पूर्वसभामुख नेम्वाङले राष्ट्र र जनहितलाई केन्द्रमा अघि बढ्न सबै राजनीतिक दललाई सुझाव दिए ।
निर्वाचनमा बालबालिका प्रयोग गर्नेमा सत्तारुढ गठबन्धन पहिलो काठमाडौं । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा २ सय १६ घटनामा बालबालिका प्रयोग गरिएको प्रतिवेदन सार्वजनिक भएको छ । आज सार्वजनिक गरेको प्रतिवेदन अनुसार सत्तारुढ गठबन्धनले सबैभन्दा बढी बालिबालिकालाई प्रयोग गरेको छ भने एमालेले पनि उत्तिकै मात्रामा बालबालिका प्रयोग गरेको प्रतिवेदन सार्वजनिक गरिएको हो । बालबालिकाको क्षेत्रमा कार्यरत बालबालिका शान्तिक्षेत्र  राष्ट्रिय अभियान (सिजप) का राजेश शर्माका अनुसार लोकतान्त्रिक बाम गठबन्धनबाट ९८, नेकपा (एमाले) बाट ७१ वटा, अन्य सात राजनीतिक दलहरूबाट ३४ वटा र स्वतन्त्र उम्मेदवारबाट १३ वटा घटनामा बालबालिकालाई प्रयोग गरिएको थियो । जसमध्ये दुई सय १६ घटनामध्ये एक सय ४४ वटा  प्रचार प्रसार ¥यालीको क्रममा प्रयोग गरिएको थियो भने २८ जनालाई  कलाकारको रूपमा  प्रयोग गरिएको थियो । आमसभामा १८ वटामा बालबालिका लगेका राजनीतिक दलले  घरदैलो कार्यक्रममा १२ वटा घटनामा बालबालिकाको प्रयोग गरिएको शर्माले बताए ।
बाग्मती प्रदेशमा कांग्रेसले संख्या बढायो, नुवाकोट १ (ख) बाट महत विजयी काठमाडौं । नुवाकोट निर्वाचन क्षेत्र नम्बर १  (ख) मा  नेपाली कांग्रेसका उम्मेदवार रमेशकुमार महत विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार पूर्णलाल श्रेष्ठलाई पराजित गर्दै महत विजय भएका हुन् । निर्वाचन आयोगका अनुसार महतले १३ हजार ७२७ मत प्राप्त गरी विजयी हुदाँ एमालेका श्रेष्ठ ११ हजार ८३१ मतमा सिमित भएका छन् । तेस्रो स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विमल थापाले तीन हजार ९२ मत ल्याएका छन् ।
चुनावी पराजय पछि ‘क्या बोर’ भन्दै टिकटकमा देखिइन कोमल वली काठमाडौं । मंसिर ४ मा सम्पन्न निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । अधिकाशं क्षेत्रको परिणाम आइसकेको छ भने अब केहि ठाउँको मात्र बाँकी छ । देश अझै निर्वाचनको माहोल मै छ । अन्तिम परिणाम पछि जितेकाहरु विजयी जुलुस निकाली रहेका छन् । कोहि हारेका उम्मेद्वारहरु समेत मतदातालाई धन्यवाद दिन घरदैलोमै हिँडे । तर, अधिकाशं पराजित उम्मेद्वारले भने सामाजिक सञ्जालको प्रयोग गरि मतदातालाई एकमुष्ट धन्यवाद दिइरहेका छन् । उता दाङ क्षेत्र नम्बर ३ बाट पराजित भएकी एमाले नेतृ कोमल वलीले समेत मतदातालाई सबै माध्यमबाट धन्यवाद दिइसकेकी छन् । नेपाली कांग्रेसका उम्मेद्वार दीपक गिरीसँग पराजित भएकी वलीले राजनीतिक संस्कार देखाउँदै विजयी उम्मेद्वार गिरीलाई खाँदा लगाएर बधाई दिइन् । निर्वाचनको समयमा निकै व्यस्त भएकी वली आजभोली भने टिकटक देखिन थालेकी छन् । उनले टिकटक बाट समेत निर्वाचनमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी छन् । त्यति मात्र होइन वलीले ‘सिरियस गित’ मा टिकटक बनाएकी छन् । उक्त भिडियोको ‘क्याप्सन’मा वलीले ‘क्या बोर’ लेखेकी छन् । उनले ‘उडेर जुन चुम्छु भन्थे तर,आज पिन्जडाको चरी भाँ छ जिवन’ गितमा टिकटक बनाएकी छन् ।
उदयपुर १ मा मतगणना गर्न निर्वाचन आयोगको निर्देशन काठमाडौं । निर्वाचन आयोगले उदयपुरको निर्वाचन क्षेत्र नम्बर १ मा रोकिएको मतगणनालाई निरन्तरता दिन निर्देशन दिएको छ । प्रतिनिधि सभाको मतपेटिकामा प्रदेश सभाको मतपत्र भेटिएपछि नेपाली कांग्रेस र एमालेले विभिन्न माग राखेर मतगणना रोकेका छन् । एमालेले पुनः मतदानकै माग गरेको छ भने कांग्रेसले पुनः मतगणना गर्नुपर्ने बताउँदै आएको छ । विवाद बढ्दै गएपछि यो विषय निर्वाचन आयोगसम्म पुगेकोमा आयोगले सोमबार पत्र पठाएर मतगणनालाई निरन्तरता दिन उदयपुरको मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ । उदयपुरको निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका तर्फबाट डा. नारायण खड्का र एमालेको तर्फबाट मन्जुकुमारी चौधरी प्रतिस्पर्धामा रहेकोमा छन् । त्यहाँ कांग्रेसका खड्काले अग्रता कायम गरेका छन् ।
प्रतिनिधिसभामा १३ दलको प्रतिनिधित्व, स्वतन्त्र मात्रै पाँच जना काठमाडौं । हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमार्फत १३ राजनीतिक दल संघीय संसदमा प्रतिनिधित्व गर्न योग्य भएका छन् । निर्वाचन आयोगको मत परिणाम अन्तिमतर्फ पुगिरहेको बेला प्रतिनिधिसभामा १३ दलसहित ६ जना स्वतन्त्र उम्मेदवारले विजय हासिल गरेका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको एक सय ६५ सिटमध्ये एक सय ६२ सिटको प्रत्यक्षतर्फको निर्वाचन परिणाम घोषणा हुँदा कांग्रेस ५३ सिटसहित पहिलो स्थानमा रहेको छ । यसैगरी, यसअघि प्रतिनिधिसभाा पहिलो दल रहेको एमाले कांग्रेसभन्दा नौ सिट कम रहदै ४१ स्थानमा विजय हासिल गरेको छ । उता, अघिल्लो पटक ३६ सिटमा विजय हासिल गरेको माओवादी केन्द्र यसपटक १७ सिटमा सिमित भएर तेस्रो स्थानमा रहेको छ । माओवादी यसअघि पनि तेस्रो स्थानमा थियो । एमालेबाट विभाजन भएको एकीकृत समाजवादीले १० सिटमा विजय हासिल गरेर चौथो स्थानमा छ । यो पार्टी पहिलो पटक प्रतिनिधिसभा निर्वाचनमा उठेको हो । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी र पहिलो पटक निर्वाचन प्रक्रियामा सामेल भएको रवि लामिछाने नेतृत्वको समाजवादी पार्टीले ७–७ स्थानमा विजय हासिल गर्दै पाँचौ नम्बरमा रहेका छन् । जसपा यसअघि चौथौ स्थानमा रहेको थियो । उता, अघिल्लो प्रतिनिधिसभामा एक सिटमा मात्रै सिमित भएको राष्ट्रिय प्रजातन्त्र पार्टीले यसपटक सात सिटमा विजय हासिल गरेको छ भने पाँचौ स्थानमा रहेको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी चार सिटमा खुम्चिएको छ । पहिलो पटक प्रतिनिधिसभामा उम्मेदवार बनाएको रेशमलाल चौधरी आवद्ध नागरिक लोकतान्त्रिक पार्टीले सुदुरपश्चिम प्रदेशवाट तीन सिटमा विजय हासिल गर्दा राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी  र जनमत पार्टीले १–१ स्थानमा विजयी भएका छन् । विगतमा माओवादी केन्द्रबाट विजय हासिल गर्दै आएका प्रभु साहले यसपटक स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनले रौतहट–३ बाट स्वतन्त्र उम्मेदवार भई रहँदा मुलुकभर पाँच जनाले स्वतन्त्रबाट विजयी हासिल गरेका छन ।
मकवानपुरमा ३१ हजारभन्दा बढी मत बदर, निर्वाचन कार्यालय भन्छ– आश्चर्यजनक भयो काठमाडौं । मकवानपुरमा प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनअन्तर्गत ३१ हजार चार सय ७४ मत बदर भएको छ । जिल्लामा प्रदेश र प्रतिनिधि सभामा खसेको कूल मतमध्ये उक्त संख्यामा मत बदर भएको बागमती प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । मतदाता शिक्षा अभावका कारण यस्तो भएका कारण देशका अन्य स्थानमा समेत ठूलो संख्यामा मत पत्र बदर भएका पाइएको हो । मकवानपुरमा यस पटकको तीन लाख सात सय ३३ मतदातामध्ये एक लाख ७८ हजार दुई सय ८२ जनाले मात्र मतदाता सहभागी भएका थिए । मतदाता शिक्षा सञ्चालन भए पनि ठूलो संख्यामा मत बदर हुनु आश्चर्यजनक भएको निर्वाचन कार्यालयले उल्लेख गरेको छ । कार्यालयका अनुसार मकवानपुरका १० वटा स्थानीय तहका एक सय २२ वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको थियो ।  यहाँ दुई निर्वाचन क्षेत्र छन् । जसमध्ये मकवानपुर–१ राप्रपाका दीपक सिंह र मकवनापुर–२ एमालेका महेस गर्ताैला विजयी भएका थिए ।
तीन नयाँ पार्टी पहिलोपटक प्रदेश सभामा काठमाडौं । हालै सम्पन्न प्रदेशसभा निर्वाचनवाट तीनवटा नयाँ पार्टीले प्रदेश सभामा प्रतिनिनिधित्व गरेका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणामअनुसार यसअघि जित्दै आएका ठूला दललाई पराजित गर्दै तीन नयाँ पार्टीले प्रदेश सभामा प्रतिनिधित्व गरेका हुन् । जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, हाम्रो नेपाली पार्टी पहिलोपटक प्रदेश सभामा प्रतिनिधत्व गरेका हुन् । मधेस प्रदेशबाट सिके राउत नेतृत्वको जनमत पार्टीले दुई सिट जित्दै पहिलोपटक प्रतिनिधित्व गरेको हो भने रेशमलाल चौधरी आवद्ध नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशबाट पाँच सिटमा विजय हासिल गर्दै पहिलोपटक प्रतिनिधित्व गरेको हो । अघिल्लो निर्वाचनमा विवेकशील साझा पार्टीबाट प्रदेशसभामा प्रतिनिधित्व गरेको थियो । तर सो पार्टीले यसपटक कतै जित हासिल गर्न सकेन । यसपटक बाग्मती प्रदेश सभामा हाम्रो नेपाली पार्टीले पहिलोपटक प्रतिनिधित्व गरेको छ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभामा सात स्थानमा विजयी हासिल गरे पनि प्रदेश सभामा भने शून्य छ । सो पार्टीले प्रदेश सभामा भागै लिएन । लामिछानेले प्रदेशतर्फको मतपत्रमा संकेत चिन्हसमेत लगाएनन् ।
नयाँ पार्टीको आगमनले थप अस्थिरता हुन्छ की भन्ने आशंका छ, त्यस्तो हुँदैनः सुवास नेम्वाङ काठमाडौं । एमालेका उपाध्यक्ष सुवास नेम्वाङले नयाँ परिस्थितिअनुसार पार्टी अघि बढ्ने बताए छन् । इलाम २ बाट निर्वाचित भएपछि मतदातासँगको भेटघाटमा उनले यस्तो बताएका हुन । उनले जतमतले कुनै पनि पार्टीलाई बहुमत नदिएको र सोही जनमतअनुसार दलहरू अघि बढ्ने प्रष्ट पारे । उनले नयाँ पार्टीहरूको आगमनालाई पनि सामान्य रुपमा लिनु पर्ने बताए । उनले भने, ‘हाम्रो संविधानले नै मिश्रित निर्वाचन प्रणली अपनाएको छ । यही प्रणालीअनुसार नयाँ पर्टीहरू आएका हुन् । उनीहरूको आगमनले थप अस्थिरता पैदा हुन्छ की भन्ने मानिसहरूमा आशंका छ । त्यस्तो हुँदैन । जनताले सबैलाई मिलेरअघि जान भनेका छन् । सोही अनुसार गर्छौ ।’
राजीनामा दिने तयारीमा उर्जामन्त्री भुसाल काठमाडौं। निर्वाचनमा पराजित भएपछि उर्जामन्त्री पम्फा भुसालले राजीनामा दिने तयारी गरेकी छन्। निर्वाचनमा पराजित भइसकेपछि पनि राजीनामा नदिएको भन्दै आलोचना भइरहेका बेला उर्जामन्त्रीले राजीनामा दिने तयारी गरेको उनको सचिवालयले जनाएको छ। ललितपुर क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीले उर्जामन्त्री भुसाललाई पराजित गरेकी थिइन्। निर्वाचनमा भुसाल तेस्रो भएकी थिइन्। उनले सोमबार नै राजीनामा दिने वा मंगलबार दिने भन्ने निश्चित नभए पनि मंगलबारसम्ममा राजीनामा दिइसक्ने स्रोतले बताएको छ। निर्वाचनमा उर्जामन्त्री भुसालसँगै गृहमन्त्री बालकृष्ण खाँण, खानेपानी मन्त्री उमाकान्त चौधरी, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, खेलकुद मन्त्री महेश्वर गहतराज पराजित भएका छन्। पराजित भइसकेपछि पनि राजीनामा नदिएको भन्दै उनीहरुको आलोचना भइरहेको छ ।
एमालेको नेतृत्वमा सरकार गठनका लागि पहल गर्नेछौं: विष्णु पौडेल काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले एमालेको नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने बताएका छन्। प्रेस चौतारी, रुपन्देहीले सोमबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष पौडेलले अहिलको निर्वाचनमा कसैको स्पष्ट बहुमत नआएकाले मुलुकलाई बिकास र समृद्धिको बाटोतर्फ अघि बढाउन एमालेको नेतृत्वमा सरकार बनाउन पहल गर्ने बताएका हुन् । एमालेको संसदीय दलको बैठक बसेर पार्टीका अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार बनाउने बिषयमा औपचारिक निर्णय गर्ने उनको भनाई छ । उनले एमालेले नेतृत्वदायी भूमिका निर्वाह नगर्दासम्म मुलुकको बिकासले गति लिन नसक्ने दावी गरेका छन् । पौडेलले कुनै पनि दललाई बहुमत प्राप्त नहुदा कुनै न कुनै रुपमा अंक गणितको खेल हुने र मुलुक अस्थिरता तर्फ जाने खतरा बढेको जिकिर गरेका छन् । पौडेलले निर्वाचनमा जित र हार स्वाभाविक भएको बताउँदै सबै मतदाताको प्रतिनिधि भएर काम गर्ने र सबैप्रति समदूरीको व्यवहार गर्ने बताए । भिडियो:
उदयपुर १ मा स्थगित भएको मत गणना अझै सुरु भएन उदयपुर । उदयपुरको प्रतिनिधि सभा निर्बाचन क्षेत्र १ को मतगणता भइरहेको समयमा आइतबार बिहान प्रदेश सभाको मतपत्र प्रतिनिधि सभाको मतपेटिका भेटिएपछि विवाद हुँदा मत गणना स्थगित भएको गणना अझै सुचारु भएको छैन । प्रतिनिधि सभाको मतपेटिकामा प्रदेश सभाको मतपत्र भेटिएपछि मतगणना स्थगित भएको हो । आइतबार खोलिएका १० वटा प्रतिनिधि सभाको मतपेटिकामा १ सय हाराहारी मत पत्र प्रदेश सभामा भेटिएको थियो । गणना स्थगित गरेर सर्वदलीय बैठकमार्फत समाधान खोज्ने काम भइरहेको तर, निश्कर्ष ननिस्किएको बताइएको छ । अन्तिम चरणमा पुगेका बेला समस्या आएपछि गणना रोकेर छलफल भइरहेको जिल्ला निर्वाचन अधिकारी खेमराज कोइरालाले जानकारी दिए । उनले त्रियुगा नगरपालिका ५ देउरी र श्रीपुर केन्द्रका १० मध्ये ७ वटा मत पेटीकामा ती मतपत्र भेटिएको आरोप छ ।
रेडियो नेपाल उदयपुरका सम्वादाता राई पक्राउप्रति पत्रकार संघ संस्थाको आपत्ति उदयपुर । रेडियो नेपालका उदयपुर संवाददाता गजेन्द्र राईलाई पक्राउ गरेको घट्नाप्रति नेपाल पत्रकार महासंघ उदयपुर, नेपाल फोटो पत्रकार महासंघ र नेपाल आदिवासी जनजाति महासंघले आपत्ती जनाएका छन् । विद्युतीय कारोबार ऐन विरुद्ध अपराध आरोपमा रिपोर्टिङ गरी रहेकै बेला राईलाई पक्राउ गरेको प्रति छु्ट्टाछु्ट्टै विज्ञप्ती प्रकाशित गरी आपत्ती जनाएका हुन् । पत्रकार महासंघ उदयपुरका पूर्व सहसचिव, फोटो पत्रकार महासंघका निवर्तमान अध्यक्ष, प्रेस सेन्टर नेपाल १ नं. प्रदेश कमिटी सचिव तथा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ केन्द्रीय सदस्य समेत रहेका राईलाई प्रहरीले मत गणनाको रिपोर्टिङ गरिरहेको समयमा अमानवीय तरिकाले पक्राउ गरेकोमा गम्भीर ध्यानाकर्षण भएको प्रेस बिज्ञप्तीमा उल्लेख गरेका छन् । समाचार लेखेको विषयलाई लिएर पत्रकार माथि साईबर क्राईम मुद्धा पर्नु सम्पूर्ण प्रेस जगतका लागि दुःखद कुरा रहेको र यसले प्रेस स्वतन्त्रतालाई कुण्ठित गरेको महासंघको विज्ञप्तीमा उल्लेख छ । समाजमा घटेका सहि सत्य कुरा र गलत प्रबृत्तिको उजागर गर्ने काम गर्दा यसरी प्रेस जगत माथि आक्रमण गर्नेहरु प्रति सचेत हुनु पर्ने महासंघका सचिव विश्वराज तामाङले जारी गरेको विज्ञप्तीमा भनिएको छ । त्यस्तै फोटा पत्रकार महासंघका सचिव लक्ष्मी पोखरेल र फोनिज सचिब बुद्धि चामलिङकले छुट्टाछ्ट्टै विज्ञप्ती जारी गरि यस्तो कार्यको निन्दा र भत्र्सना गरेको छ । रार्ई आफैले सञ्चालन गरेको निगरानी पोष्ट डटकमको आधिकारिक युट्युव च्यानलमा नातामा काका ससुरा र बुहारी रहेका महिला र पुरुष बीचको सम्बन्ध बारे भिडियो समाचार प्रकाशन गरेकोमा राईलाई परेको जनाईएकोछ । राज्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी गरेको अवस्थामा राई माथि परेको साईवर अपराध बिरुद्ध मुद्धा र प्रहरीले गरेको अमानवीय व्यवहार प्रति घोर आपत्ती प्रकट गर्दै आगामी दिनमा यस्ता घट्ना नदोहो¥याउन विज्ञप्ती भनिएकोछ । साथै समाचार लेखेको विषयलाई लिएर मुद्धा परेकाले यसको छिनोफानो गर्ने जिम्मा अद्र्धन्यायिक संस्था प्रेस काउन्सिल नेपाललाई दिन पनि महासंघले माग गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरिक्षक ज्ञानेनद्रप्रसाद फुयालले भने प्रधान कार्यालय साईबर क्राईम व्युरो र काठमाडौँ जिल्ला अदालतको पक्राउ आदेशका आधारमा राईलाई नियन्त्रणमा लिइएको बताएका  छन । साईबर क्राईम व्युरो र काठमाडौँ जिल्ला अदालतले राईलाई पक्राउ गरि तत्काल उपस्थित गराउन आदेश आएकाले कानुनी प्रक्रिया पुरा गरि  पत्रकार राईलाई काठमाडौँ पठाइएको जानकारी दिए ।
ठूलो आवाज निकाल्ने २९ मोटरसाइकल प्रहरी नियन्त्रणमा काठमाडौं । ट्राफिक प्रहरीले ठूलो आवाज निकाल्ने २९ मोटरसाइकलसहित चालकलाई नियन्त्रणमा लिएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले यहाँका सडकमा ठूलो आवाज निकालेर मोटरसाइकल चलाउनेलाई नियन्त्रणमा लिएको हो । कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले काठमाडौँका सडकमा ठूलो आवाज निकालेर ध्वनि प्रदूषण गर्ने २९ मोटरसाइकललाई नियन्त्रणमा लिएर वातावरण विभाग पठाइएको र सो विभागले १२ मोटरसाइकललाई रु १० हजारका दरले जरिवाना गरेको जानकारी दिए। वातावरण विभागले परीक्षण गर्दा मापदण्डभन्दा बढी आवाज निकालेको पाइएकाले जरिवना गरेको हो । बाँकी १७ वटा मोटरसाइकल सम्बन्धमा सोही विभागले अनुसन्धान गरिरहेको प्रवक्ता भट्टले बताए । ठूलो आवाज निकालेर सवारीसाधन चलाउँदा ध्वनि प्रदूषण हुनाका साथै मानवीय स्वास्थ्यमा समेत नकारात्मक असर पर्ने भएकाले त्यस्ता सवारीसाधन नचलाउन ट्राफिक प्रहरीले चालकलाई अनुरोधसमेत गरेको छ ।
दोलखाका १० मतदान केन्द्रमा पुनः मतदान गर्ने आयोगको निर्णय काठमाडौं । दोलखामा प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मंसिर ४ गते रोकिएका मतदान केन्द्रमा पुनः मतदान हुने भएको छ । निर्वाचन आयोगका अनुसार आइतबार बसेको बैठकले मंसिर १५ गतेभित्र १० वटा मतदान केन्द्रमा पुनः मतदान गराउने निर्णय गरेको हो । आयोगले पुनः मतदानका लागि दोलखाका विभिन्न १० वटा मतदान केन्द्रसमेत सिफारिस  गरेको छ  । दोलखाको वैत्यश्वर गाउँपालिका वडा नम्बर ६ स्थित वैत्यश्वर माध्यमिक विद्यालय मतदान केन्द्रको क, ख, ग, वडा नम्बर २ स्थित जनज्योति माध्यमिक विद्यालय पुतली काठका क र ख, तामाकोसी गाउँपालिका वडा नम्बर ३ स्थित हेल्थ पोस्ट भवन क र ख, वडा नम्बर ३ स्थित कालीढुंगा मावि क, ख, ग मा मतदान हुने  आयोगले जनाएको छ ।
हर्क भन्छन्– बालेनसँग भेट भए छमछमी नाचेर देखाउनुपर्ला काठमाडौं । धरान उपमहानगरपालिका मेयर हर्क साङपाङले काठमाडौं महानगरपालिका मेयर बलेन साहसँग भेट हुँदा छमछमी नाच्ने बताएका छन् । उनले साह र आफु मिलेको हेर्न चाहने धेरै रहेको भन्दै आफुहरुबीच झगडा नभएको समेत स्पष्ट पारेका छन् । साहले केहि दिन अघि हर्कको पोष्टलाई सेयर गरेका थिए ।
समानुतिकतर्फ करिब ८० प्रतिशत मतगणना, कहिले सकिएला गणना ? काठमाडौं । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ हालसम्म करिब ८० प्रतिशत मतगणना सम्पन्न भएको छ । सम्पन्न भएको मतगणनाको विवरण निर्वाचन आयोगको सूचना प्रणाली र समानुपातिक प्रणालीको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा अभिलेख हुने क्रम जारी रहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । निर्वाचनका लागि कूल मतदाता एक करोड ७९ लाख आठ हजार आठ सय ५० रहेकामा प्रारम्भिक विवरणमा ६१ प्रतिशत (एक करोड ७ लाख तीन हजार २७) मत खसेको अनुमान गरिएकामा सोको ८० प्रतिशत मतगणना हुँदा अब करिब २४ लाख मत उक्त प्रणालीतर्फ गणना हुन बाँकी रहेको छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एक सय ६५ स्थानमध्ये हालसम्म एक सय ४४ क्षेत्रको मतपरिणाम आयोगको प्रणालीमा प्रविष्ट भइसकेको छ । हाल गणना भइरहेका छ । निर्वाचन क्षेत्रको सोमबारसम्ममा सम्पन्न हुने आँकलन गरिएको छ । बाजुराको बुढीनन्दा नगरपालिका–५ स्थित नन्देश्वरी मावि, पिपलचौर मतदान केन्द्रमा यही मङ्सिर १० गते पुनःमतदान सम्पन्न भएकाले गणना हुन बाँकी छ । दोलखा र स्याङ्जा सत्तापक्ष र प्रतिपक्षबीच विवादका कारण मतपेटिका सङ्कलन भइसके पनि विवाद भएका मतदानस्थलमा पुनः मतदान गराउने या मतगणना शुरू गर्ने भन्ने विषयमा आयोगको निर्णयको प्रतीक्षा गरिएको छ ।
प्रतिनिधिसभामा भन्दा प्रदेशसभामा धेरै मत बदर काठमाडौं । यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा मत बदरको सङ्ख्या प्रतिनिधिसभामा भन्दा प्रदेशसभामा बढी भएको छ । जिल्लाका प्रतिनिधिसभाका तीन निर्वाचन क्षेत्रमा भन्दा प्रदेशसभाका ६ क्षेत्रमा धेरै मत बदर भएको हो । जिल्ला निर्वाचन कार्यालयका अनुसार तीन प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रमा ११ हजार ६ सय २८ मत बदर भएको छ भने प्रदेशका ६ निर्वाचन क्षेत्रमा १६ हजार एक सय १७ मत बदर भएको छ । चितवन क्षेत्र नं १ मा प्रतिनिधिसभातर्फ तीन हजार ६ सय २१ मत बदर भएको छ । जहाँ ९५ हजार ४१ मत खसेको थियो । यस्तै क्षेत्र नं २ मा तीन हजार दुई सय ५० मत बदर भएको कार्यालयले जनाएको छ । जहाँ ८७ हजार दुई सय ४० मत खसेको थियो । क्षेत्र नं ३ मा चार हजार सात सय ५७ मत बदर भएको छ । यस क्षेत्रमा ९४ हजार दुई सय ८० मत खसेको थियो । यस्तै निर्वाचन क्षेत्र नं १ प्रदेशसभा १ मा दुई हजार नौ र प्रदेशसभा २ मा एक हजार नौ सय ४३ मत बदर भएको छ । निर्वाचन क्षेत्र नं २ प्रदेशसभा १ मा तीन हजार ५० र प्रदेशसभा २ मा तीन हजार दुई सय ८४ मत बदर भएको छ । त्यसैगरी क्षेत्र नं ३ प्रदेशसभा १ मा तीन हजार दुई सय ४८ मत र प्रदेशसभा २ मा दुई हजार ६ सय १९ मत बदर भएको छ । कार्यालय प्रमुख भीमसेन कार्कीले मतदाता शिक्षा गाउँगाउँमा पुगेको भए पनि बदर हुने सङ्ख्यामा कमी आउन नसकेको बताए । प्रतिनिधिसभामा भन्दा प्रदेशसभामा मत बढी बदर हुनुमा मतदाताले मत सङ्केत नगरी मतदान गरेको धेरै पाइएको उनको भनाइ छ । मतदाताले मत सङ्केत गर्दा बाहिर गरेको, दुई चिह्नमा मतदान गरेको जस्ता गल्ती मतपत्र भेटिएको उनले बताए । उनले भने “प्रदेशसभाको मतपत्रमा मतदाताले मत सङ्केत नगरेको र दुई ठाउँमा मतदान गरेका मतपत्र धेरै छन् ।”
नेपाल एयरलाइन्सको न्यारोबडी जहाजको इन्जिन स्टार्ट नभएपछि… काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को न्यारोबडी ‘ए’ ३२० जहाज ग्राउन्डेड भएको छ । प्राविधिक समस्याका कारण जहाजको इन्जिन स्टार्ट नभएकाले जहाज ग्राउन्डेड भएको निगमले जनाएको छ । निगमका प्रवक्ता अर्चना खड्काका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ११ः३० बजे मुम्बई उड्ने तयारीमा रहेको उक्त जहाजको इन्जिन स्टार्ट नभएपछि जहाज ग्राउन्डेड भएको छ । उक्त जहाजमा सवार एक सय ५२ यात्रुलाई अर्को जहाजमार्फत दिल्ली पठाइएको थियो । दिल्लीबाट फर्किएको जहाजमा यात्रु राखेर दिउँसो २ बजे नै दिल्ली पठाइएको प्रवक्ता खड्काले बताए । उनले भने, “न्यारोबडी जहाजको ‘स्टार्टर’ बिग्रिएको हो, इन्जिनमा समस्या हैन, प्राविधिक समस्यायुक्त जहाजको अहिले मर्मत भइरहेकाले छिट्टै उडानमा आउनेछ ।” निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुई थान वाइड बडी ‘ए’ ३३० र दुई थान न्यारोबडी ‘ए’ ३२० जहाज छन् । निगमले भारतका तीनसहित आठ देशका १० गन्तव्यमा अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ ।
चेतन अयडीको हत्यारालाई कारबाहीको माग गर्दै अनेरास्ववियुको प्रदर्शन काठमाडौं । अनेरास्ववियुले चेतन अयडीको हत्यारालाई कारबाहीको माग गर्दै प्रदर्शन गरेको छ । अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य एवं सुदूरपश्चिम विश्वविद्यालय राष्ट्रिय कमिटी अध्यक्ष अयडीको हत्या भएको भन्दै कारबाहीको माग राखेर प्रदर्शन गरेका हुन् । काठमाडौंमा आइतबार गरिएको प्रदर्शनमा सहभागीले ‘हत्या हिंसा बन्द गर, चेतन अयडीलाई न्याय दे, शान्ति सुव्यवस्था कायम गर’ प्लेकार्ड बोकेका थिए ।
सोबिताले लिइन निर्वाचित भएको प्रमाणपत्र काठमाडौं । काठमाडौं क्षेत्र नम्बर २ बाट निर्वाचित भएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी सोबिता गौतमले प्रमाणपत्र ग्रहण गरेकी छन् । उनलाई आज निर्वाचन अधिकृतको कार्यालयले निर्वाचित भएको प्रमाणपत्र दिएको हो । २७ वर्षीय गौतम एमालेका मणिराम फुयाललाई पछि पार्दै निर्वाचित भएकी हुन । यस क्षेत्रबाट माओवादी केन्द्रकी ओनसरी घर्ती समेत उम्मेवार थिइन् । उनले ९ हजार ४ सय ४९ मत मात्र ल्याएकी थिइन् ।
बाजुरामा मतगणना अनिश्चित, आगोगको टोली पुग्यो बाजुरा । मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मतगणना अनिश्चित बनेको छ । जिल्लाका विभिन्न मतदान केन्द्रमा नेपाली कांग्रेस र नेकपा (एमाले)का कार्यकर्ताले बुथ कब्जा गरी फर्जी मत खसाएको निर्वाचन आयोगमा उजुरी परेपछि मतगणना अनिश्चित बनेको हो । निर्वाचनका बेला एमालेले आफ्नो पहुँच भएको मतदान केन्द्रमा बुथ कब्जा गर्दै मतदानमा सहभागी नभएका र विदेश गएका तथा मृत्यु भएकाको समेत मत हालेको आरोपसहित कांग्रेसले पाँच मतदानस्थलका १७ मतदान केन्द्रमा पुनः निर्वाचन गर्न माग गर्दै उजुरी दिएको छ । यस्तै नेपाली कांग्रेसको पहुँच भएको मतदान केन्द्रमा कुथ कब्जा गरी विदेश भएका, जागिरको सिलसिलामा जिल्ला बाहिर रहेका र मृत्यु भएकाको समेत मत हालेको आरोपमा एमालेले पनि १७ मतदान केन्द्रमा पुनः निर्वाचनको माग गर्दै आयोगमा उजुरी दिएको छ । कांग्रेस र एमालेले पुनः निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुरामा उजुरी दिएपछि आयोगले बनाएको छानविन समिति टोली बाजुरामा पुगेको छ । आगोगको टोली बाजुरामा मङ्सिर ४ गते भएको निर्वाचनमा स्वच्छ, निष्पक्ष र धाँधलीरहित वातावरणमा निर्वाचन नभएको मागसहित बाजुराका दुई दलले निर्वाचन आयोगमा उजुरी दिएपछि आयोगमा सहसचिव तुलछी श्रेष्ठको नेतृत्वको टोली शुक्रबार नेपाली सेनाको हेलिकोप्टरमा जिल्ला आइपुगेको हो । आयोगका सहसचिवको टोलीले जिल्लाका सुरक्षाकर्मी, मतदान अधिकृत र राजनीतिक दलसँग छलफल तथा सुझाव सङ्कलन गरेको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ । निर्वाचनमा दलका कार्यकर्ताबीच भएको विवादका कारण आयोगमा दलहरूले कुथ कब्जा गरेको आरोपसहित उजुरी दिएपछि छानविनका लागि टोली जिल्लामा आएको जिल्ला निर्वाचन कार्यालय बाजुराका निर्वाचन अधिकारी नवराज अवस्थीले बताएका छन् । टोलीले जिल्लामा विभिन्न निकायसँग सुझाव सङ्कलन गरेर आज काठमाडौँ फर्किने निर्वाचन अधिकारी अवस्थीले बताए । निर्णयको पर्खाइमा मुख्य निर्वाचन अधिकृत प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको मतगणनाका लागि आयोगको निर्णयको पर्खाइमा रहेको छ । मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलका अनुसार आयोजमा दुई दलले निष्पक्ष निर्वाचन नभएको उजुरी दिएपछि आयोगको निर्णयपछि मतगणना हुने वा पुनः निर्वाचन हुने भन्नेमा यकिन नभएको बताए । उनले आयोगबाट छानविन समितिको टोली आएको र उक्त टोलीको प्रतिवेदनका अनुसार आयोगले जे निर्णय गर्छ सोहीअनुसार अघि बढ्ने पौडेलले बताएका छन् ।
गठबन्धनले कर्णालीमा कांग्रेसलाई फाइदा सुर्खेत । अघिल्लो पटकको चुनावमा एक सिट मात्र प्रदेशसभामा जितेको कांग्रेसले अहिले गठबन्धनको बलमा उलेख्या प्रगती गरेको छ । कर्णालीका १० जिल्लाको नतिजा आइसक्दा कांग्रेस बलियो शक्तिको रुपमा उदाएको छ । नेपाली कांग्रेसले सुर्खेतका दुईवटै निर्वाचन क्षेत्र र दैलेख क्षेत्र नम्बर २ गरी तीन वटा निर्वाचन क्षेत्रमा विजय हासिल गरेको छ । प्रतिनिधिसभामा २०७४ मा कुनै पनि सिट जित्न नसकेको कांग्रेसले यो पटक गठबन्धनको बलमा धेरै ठाउँमा आफ्नो उपस्थिती बलियो बनाएको छ । ०७४ मा पाँच वटा क्षेत्र जितेको नेकपा (माओवादी केन्द्र) ले यो पटक रुकुम पश्चिम र जाजरकोट , हुम्ला , कालिकोटमा मात्र विजय हासिल गरेको छ  । त्यस्तै कांग्रेसले सुर्खेतका दुइ क्षेत्र , दैलेखका एक क्षेत्र र मुगुमा जितेको छ । राप्रपाको जुम्लामा एक सिट जितेको छ । समाजवादीले सल्यान , डोल्पा र दैलेखमा प्रतिनिधिसभामा जित हात पारेको छ । गठबन्धनभित्रको अर्को साझेदार दल नेकपा (एकीकृत समाजवादी)ले आफ्नो भागमा परेका दैलेख १, सल्यान र डोल्पामा विजयी हासिल गर्दा नेकपा एमाले भने शून्यमा झरेको छ । यतिसम्मकी कर्णालीमा एमाले विभाजनपछि बनेको समाजवादीले नै आफ्नो बलियो उपस्थिति जनाउँदा एमाले ०७४ मा कांग्रेसकै अवस्थामा पुगेको हो । गठबन्धनमा भाग परेकामध्ये माओवादीलाई एक सीटमा घाटा लागेको छ । जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले माओवादीका उम्मेदवार गोमा कुँवरलाई पराजित गरे । कर्णालीमा प्रतिस्पर्धी दलहरु नेकपा एमाले, माओवादी र कांग्रेसबीच हो । गठबन्धन बनेर जाँदा ०७४ मा बाम गठबन्धन र कांग्रेसबीच प्रतिस्पर्धा भएको थियो भने यो पटक लोकतान्त्रिक–बाम गठबन्धनबीच प्रतिस्पर्धाका लागि दलहरू मैदानमा उत्रिएका थिए। तर स्वतन्त्र र साना दलहरुको दबदबाले कतिपय ठाउँमा गठबन्धनका उम्मेदवारको प्रतिस्पर्धा स्वतन्त्रसँग भएको देखिन्छ । हिमाली जिल्ला डोल्पामा धनबहादुर बुढा पुनः प्रतिनिधिसभामा निर्वाचित भएका छन् । गठबन्धनको सहयोगमा उम्मेदवार बनेका समाजवादीका नेता बुढाले आफ्ना प्रतिस्पर्धी एमालेका गणेशबहादुर शाहीलाई ५ हजार ७२७ मतान्तरले पराजित गरेका हुन् । बुढा ११ हजार २२५ मतसहित निर्वाचित हुँदा एमालेका शाहीको पक्षमा ५ हजार ४९८ मत आएको छ । बुढाले यो पटकसहित तीन पटक संसदीय निर्वाचनमा जितको ‘ह्याट्रिक’ पार गरेका छन् । यता माओवादीका उपमहासचिव शक्ति बहादुर बस्नेले एमालेका निरजप्रसाद आचार्यलाई ९ हजार ३१ मतान्तरले पराजित गर्दै ‘ह्याट्रिक’ पार गरे । बस्नेत ३४ हजार १५१ मत पाउँदा आचार्यले २५ हजार १२० मत पाए । बस्नेतले यसअघि ०७० र ०७४ मा संसदीय चुनाव जितेका थिए । सल्यानमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका समाजवादीका उपमहासचिव प्रकाश ज्वाला बहुमतसहित विजयी भए ।  ज्वालाले योसहित पाँच पटक संसदीय चुनावमा भाग लिएका छन् । जसमा ०५६, ०७९ र ०७४ मा सफल भए भने ०५१ सालमा असफल भएका थिए । दैलेख क्षेत्र नम्बर १ मा समाजवादीका प्रदेश अध्यक्ष अम्मरबहादुर थापाले आफ्ना पुर्व सहकर्मी एमालेका जिल्ला अध्यक्ष रवीन्द्रराज शर्मालाई पराजित गरे । थापा १८ हजार २५६ मतसहित विजयी भएका हुन् । क्षेत्र नम्बर २ मा गठबन्धनको बलमा कांग्रेसले २३ वर्षपछि निर्वाचन जितेको छ। यहाँ प्रतिनिधि सभामा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार दिक्पाल कुमार शाही १५३ मतान्तरसहित विजयी भएका छन् । उनले २० हजार १५८ मत ल्याउँदा एमालेका लक्ष्मीप्रसाद पोख्रेलले २० हजार ५ मत ल्याए। सुर्खेतमा कांग्रेसले ०७४ मा एमालेसँगको पराजयको बदला लिएको छ । गठबन्धनको बलमा दुईवटै क्षेत्रमा कांग्रेसका उम्मेदवारले चुनाव जितेको छ । क्षेत्र नम्बर १ मा कांग्रेस उपसभापति पुर्णबहादुर खड्काले ०७४ मा आफूलाई पराजित गरेका शाहीलाई नै पराजित गर्दै निर्वाचित भए । एमालेका धुर्व कुमार शाहीलाई ११ हजार ६१९ मतान्तरले खड्काले पराजित गरेका हुन् । खड्का ४२ हजार ६०७  मतसहित निर्वाचित हुँदा एमालेका शाहीले ३० हजार ९८८ मत प्राप्त गरे। खड्काले गृहमन्त्री, गृहमन्त्री, सूचना तथा सञ्चार मन्त्री गरी पटक–पटक गरी आधा दर्जन मन्त्रालयको  जिम्मेवारी सम्हालिसकेका छन् । यता २ मा पनि कांग्रेसका हृदयराम थानी विजयी भएका छन् । कुल खसेको ७६ हजार ३५२ मतमध्ये थानीको पक्षमा ३४ हजार ६२५ आएको छ । उनले नेकपा एमालेका जिल्ला अध्यक्ष अमृत कुमार विसीलाई ५ हजार ६७ मतान्तरले पराजित गरे ।  विसीले २९ हजार ५५८ मत प्राप्त गरे। थानीले योसँगै तीन पटक संसदीय निर्वाचन जिते । रुकुम पश्चिममा भने माओवादीले पुनः आफ्नो वर्चश्व कायम गरेको छ । सरकारका अर्थमन्त्री एवं माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले २६ हजार ५८८ मतान्तरसहित नेकपा एमालेका नन्दराम देवकोटालाई पराजित गर्दै निर्वाचित भएका छन् । सम्भवतः कर्णालीमा सबैभन्दा धेरै मतान्तरले चुनाव जित्नेमा शर्मा नै हुन् । प्रदेशसभामा समेत कांग्रेसको बलियो उपस्थिती बनेको छ । जाजरकोटका दुइ क्षेत्र,  सल्यान प्रदेश (क) मा कांग्रेस , जुम्लामा कांग्रेसकै स्वतन्त्र प्रदेश(क) , कालिकोट प्रदेश(ख) , हुम्ला प्रदेश(ख) , दैलेखको क्षेत्र नम्वर १ (क,ख) , क्षेत्र २ (क) ,क्षेत्र न १ को (क) कांग्रेसले जित हात पारेको छ । प्रदेशसभा एक मात्र सिट अघिल्लो चुनावमा कांग्रेसले जितेको थियो । जो अहिले पनि मुख्यमन्त्री जीवनबहादुर शाही रहेका छन् ।
झडप भएपछि रोकिएको बुढिनन्दा ५ मा आज ५ सय ९७ जनाले भोट हाले बाजुरा । बाजुराको बुढिनन्दा ५ मा शनिबार भएको पुनः मतदानमा ५ सय ९७ मत खसेको छ । यो ५९ प्रतिशत मत खसेको निर्वाचन कार्यालय बाजुराले जनाएको छ । मंसिर ४ गते कांग्रेस र एमालेका कार्यकर्ताबीच भएको झडपका कारण स्थगित भएको मतदान शनिबार शान्तिपूर्ण सम्पन्न भएको निर्वाचन कार्यालय बाजुराले जनाएको छ । ९ सय ९९ मतदाता रहेको मतादन केन्द्रमा ५ सय ९७ जनाले मतदान गरेका थिए । निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीका अनुसार २ सय ८५ जना महिला र ३ सय १२ पुरुषले मतदान गरेका हुन् ।
गृहमन्त्री खाणले दिए दीपक बोहोरालाई बधाइ रुपन्देही । गृहमन्त्री बालकृष्ण खाणले रुपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित राप्रपा नेता दीपक बोहोरालाई बधाइ दिएका छन् । गृहमन्त्री खाणले बोहोरालाई टेलिफोनमार्फत् बधाइ दिएका हुन् । उनले बोहोरालाई सफल कार्यकालको शुभकामनासमेत दिएका छन् । बोहोराले खाणलाई दुई हजार ६८१ मतान्तरले पराजित गरेका थिए । बोहोराले ३६ हजार ७१७ मत प्राप्त गर्दा खाणले ३४ हजार ३६ मत प्राप्त गरेका छन् ।
प्रधानमन्त्री देउवा र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता काठमाडौं । भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको परिणाम आइरहेको र नयाँ सरकार गठनबारे चासो बढिरहेका बेला प्रधानमन्त्री देउवा र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार अरुण सुवेदीले जानकारी दिए । भेटमा भारतीय राजदूत श्रीवास्तवले समसामयिक राजनीतिक विषयमा चासो राखेका थिए । राजदूत श्रीवास्तवले आगामी सरकार निर्माण र सत्ता समीकरणबारे चासो राखेकोमा प्रधानमन्त्री देउवाले सबै परिणाम नआइसकेकाले अहिले नै त्यसबारे छलफल नभएको बताएका थिए ।
रवि लामिछानेको यस्तो घोषणा ! काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा भारी मतान्तरले विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन् । उनले पछिसम्मका लागि सोचेर खरिद गरिएका अतिरिक्त कार्यालय सामग्रीहरुको हिसाबबाहेक चुनावी खर्च ११ लाख ८१ हजार ४ सय ७२ रूपैयाँ देखिएको जनाए । उनले सामाजिक सञ्जाल मार्फत आफ्नो कार्यकाल भरी कुनै पनि सम्मान, पुरस्कार, उपहार ग्रहण नगर्ने निधो गरेको पनि उल्लेख गरेका छन् । रविले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई ३४ हजार १६२ मतान्तरले पराजित गरेका थिए । लामिछानेले ४९ हजार २६१ मत प्राप्त गर्दा श्रेष्ठले १५ हजार ९९ मत ल्याए ।
प्रदेश सभातर्फ कुन पार्टी अगाडी ? काठमाडौं । पछिल्लो मतणनाअनुसार प्रदेशसभातर्फ पनि कांग्रेस अघि छ । हालसम्म सार्वजनिक तीन सय तीन सिटमध्ये कांग्रेस एक सय दुई, एमाले ८३ र माओवादी ५२ सिटसहित तेस्रो स्थानमा छ । जारी मतगणनाअनुसार कांग्रेस पाँच, एमाले ६ स्थानमा अगाडि छ । यस्तै, एकीकृत समाजवादीले १३ क्षेत्रमा जित निकालेको छ भने एक स्थानमा अग्रता कायम गरिरहेको छ । १२ क्षेत्रमा स्वतन्त्र र बागीले जितेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीले ११ सिट जितेको छ । जसपा र लोसपाले नौ नौ सिट जित्दा जसपा दुई क्षेत्रमा अगाडि छ । यता, जनमत पार्टीले सात सिट जित्दा नागरिक उन्मुक्ति पार्टीले पाँच सिटमा जित हासिल गरेको छ । प्रदेशसभामा प्रत्यक्षफर्त कूल तीन सय ३० सिट छ भने समानुपातिक तर्फ दुई सय २० सिट छ । ०७४ को निर्वाचनमा प्रदेशसभातर्फ एमाले १६७ सिट सहित सबैभन्दा ठूलो दल थियो । त्यसबेला कांग्रेसले ४१ सिट मात्रै ल्याएको थियो ।
पराजित उम्मेदवारको घरमा ढुंगामुढा र कुटपिट सिरहा । गोलबजार नगरपालिकाका पूर्वमेयर देवनाथ साहको घरमा एमाले कार्यक्रताले गरेको ढुंगामुढा र कुटपिटको विरुद्धमा सर्वसाधारणले सडक अवरुद्ध गरेका छन् । सिरहा ३ बाट निर्वाचित भएपछि लिलानाथ श्रेष्ठसहित सहभागी विजय र्यालीमा सहभागी कार्यकर्ताहरूले शुक्रबार साँझ प्रतिद्वन्द्वी विश्वनाथ साह र उनका दाजु देवनाथको घरमा ढुङ्गामुडा गरेका थिए । यसै घटनको विरोध गर्दै दोषीलाई कारवाहीको मागसहित आज गोलबजार बन्द गरेर सडक अवरुद्ध गरेका हुन् । एमाले कार्यकर्ताले गोलबजार नपा–४ स्थित घरमा ढुंगामुढा गरेका थिए । उनीहरूले एक जनालाई कुटपिट समेत गरेको स्थानीयको भनाइ छ । यही कारण आज बिहानैदेखि स्थानीय र माओवादी नेता कार्यकर्ताले गोलबजार बन्द गरि सडक अवरुद्ध पारेका छन् । सडक अवरुद्ध गरेपछि यहाँ अवस्था तनावग्रस्त बनेको छ । एमाले कार्यकर्ताहरूले ढुंगामुढा गर्दै घ।रको झ्यालको सिसा फुटाएका थिए । त्यसो नगर्न आग्रह गरेका स्थानीय ४३ वर्षीय श्रीचन साहलाई कुटपिट गरी टाउको फुटाइदिका छन । विरोधस्वरुप स्थानीय र माओवादी कार्यकर्ताले आज बजार बन्द गर्नुका सथै पूर्व–पश्चिम राजमार्गको गोलबजार खण्डमा टायर बालेर सडक अवरुद्ध गरेका छन् । टाउको फुटेर घाइते भएका साहको गोलबजारस्थित स्थानीय अस्पतालमा उपचार भइरहेको छ। सडक अवरुद्धका कारण पूर्वमा–पश्चिम राजमार्गको गोलबजार क्षेत्रमा सवारी साधनको लामो लाइन लागेको छ । माओवादी कार्यकर्ता तथा स्थानीयले उक्त घटनाको विरोधमा शुक्रबार साँँझ पनि तीन घण्टा पूर्व(पश्चिम अवरुद्ध गरेका थिए । पछि प्रहरीले खुलाएको थियो । एमालेका श्रेष्ठ सत्ता गठबन्धनका उम्मेदवार साहलाई एक हजार एक सय ८२ मतान्तरले पछि पार्दै निर्वाचित भएका छन् । सोही जितको उन्मादमा ढुंगामुढा गरेको माओवादी केन्द्र जिल्ला कमिटीको आरोप छ । सिराहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले सडक खुलाउने विषयमा वार्ता भइरहेको बताए । उनले अहिले नै धेरै कुरा बताउने अवस्था नगरहेको भन्दै अवरुद्ध सडक तथा बन्द बजार चाँडै खुल्ने जानकारी दिए ।
नुवाकोट–१ मा माओवादीका तामाङ विजयी नुवाकोट । नुवाकोट–१ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ निर्वाचित भएका छन् । तामाङले २३ हजार ६८३ मत ल्याएर विजयी हुँदा एमालेका बद्री मैनालीले २० हजार ९८२ मत पाए । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रद्युम्न महत क्षेत्रीले ५ हजार ९३८ मत ल्याउँदा राप्रपा सुदर्शन सिटौला १ हजार ४८० मत ल्याएका छन् ।
डडेल्धुरा अस्पतालबाट सागर ढकालले भने– काम थालिसके, ५ बर्ष कडा मेहनत गर्छु काठमाडौं । डडेल्धुराबाट प्रतिनिधि सभा सदस्यमा प्रधानमन्त्री शेरबहादुर देउवासँग पराजित भएका सागर ढकालले आउने पाँच वर्षका लागि आफुले काम सुरु गरेको बताएका छन् । डडेल्धुराको केन्द्रिय अस्पतालमा पुगेर आज डाक्टरहरुसँग के गर्न सकिन्छ भन्ने सानोतिनो छलफल गरेको उनले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका हुन् । ढकालले निर्वाचनमा पहिलो नभएपनि पनि कति काम गर्न सकिँदो रहेछ भनेर एउटा मोडेलको रुपमा आफु संसद बाहिर प्रस्तुत हुने जनाएका छन् । उनले लेखेका छन्– ‘अब मैले काम शुरु गरिसकेको छु। डडेल्धुराको केन्द्रिय अस्पतालमा त्यहाँका डाक्टरहरुसँग के गर्न सकिन्छ भन्ने सानोतिनो छलफल भएको छ। जित्ने पो १६५ हुन् , दोस्रो तेस्रो हुने त हजारौँ छन् । फस्ट नभएपनि पनि कति काम गर्न सकिँदो रहेछ भनेर एउटा मोडेलको रुपमा म संसद बाहिर प्रस्तुत हुनेछु। संसद बाहिर भएका प्रतिद्वन्धी मध्ये नेपालभरि टप टेनमा‌ पर्न ५ बर्ष कडा मेहनत गर्नेछु। म सजग छु, मैले चाल्ने हरेक पाइलाले २ करोड युवा सँगसँगै समग्र नेपालीको प्रतिनिधित्व गर्नेछ। म व्यक्ति सागर भएको छैन अब युवाको ठुलो सागर भएको छु। देशभरिबाट गर्नुभएको माया सद्भाव र विश्वास टुट्न दिने छैन । बिस्तृत योजना २–३ महिनामा बनाउने छु। डडेल्धुरा, सुदुर पश्चिमसँगै देशको मुद्दा उठाउनेछु।’
मतदाता शिक्षा अभावको नतिजाः डोटीमा साढे आठ हजारभन्दा बढी मत बदर काठमाडौं । मतदाता शिक्षा अभावका कारण डोटीमा साढे आठ हजारभन्दा बढी मत बदर भएको छ । मतदाता शिक्षा कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन नहुँदा डोटीमा भारी  मात्रामा मत बदर हुन पुगेको हो । प्रतिनिधिसभातर्फ ६३ हजार ५५२ मत खसेकोमा ४ हजार ९६९ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मत परिणाम अनुसार प्रतिनिधिसभातर्फ ६३ हजार ५५२ मत खसेको थियो । जसमध्ये आठ हजार ६२० मत बदर हुँदा ५४ हजार ९३२ मत मात्रै सदर भएको छ । यस्तै प्रदेश सभा (क) तर्फ खसेको ३३ हजार ३२२ मतमध्ये १,९१९ मत बदर भएको छ ।  प्रदेशसभा (ख) मा खसेको ३० हजार २३४ मतमध्ये १७३२ मत बदर भएको पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयले बताएको छ । यसपटकको निर्वाचनमा मतदाता शिक्षाको खासै पहुँच पुग्न नसक्दा धेरैजसो जिल्लामा बदर मतको संख्या उल्लेख्य देखिएको छ ।
जनताको पक्षमा एकपक्षीय भएर लाग्छौँः रवि लामिछाने चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले जनताका पक्षमा एकपक्षीय भएर लाग्ने बताएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज यहाँ निर्वाचित प्रमाणपत्र वितरण कार्यक्रममा उनले देशहित, नागरिक र जनजीविकाका लागिसँगै अघि बढ्ने बताए । समाजलाई टेवा दिने र मुलुकवासीका लागि काम गर्ने आफ्नो उद्देश्य हुने उनले बताए । उनले भने, “हामी निर्वाचित सांसद फरक फरक पार्टीको भए पनि एउटै कित्तामा छौँ ।” जनजीविकाको मुद्दामा एकै ठाउँमा उभिएर सहकार्य गर्न आफू तयार रहेको उनले बताए। निर्वाचनमा आफ्नो पार्टीले कसैसँगै गठबन्धन नगरेको उल्लेख गर्दै उनले भने, “देश हितका लागि, नागरिकका लागि आवश्यक चिजमा गठबन्धन आवश्यक परे खुलेर साथमा हुनेछौँ ।” कार्यक्रममा चितवन क्षेत्र नं २ (१) बाट निर्वाचित प्रदेशसभा सदस्य कृष्णप्रसाद सिलवाल र २(२) बाट निर्वाचित उत्तम जोशीले देश तथा जनताको पक्षमा आफूहरु निरन्तर लाग्ने बताए । सो अवसरमा मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले प्रमाणपत्र वितरण गर्दै निर्वाचनमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।
प्रतिनिधिसभामा समानुपातिकतर्फ कुन दलको कति मत? काठमाडौँ। यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ। पछिल्लो मत परिणामअनुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले) अग्रस्थानमा छ। निर्वाचन आयोगको आज दिउँसोसम्मको मतपरिणाम विवरणअनुसार एमालेले ११ लाख २१ हजार दुई सय २१ मत प्राप्त गरेको छ। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसको १० लाख ६३ हजार नौ सय ५७ मत प्राप्त गरेको छ। तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिकतर्फको मत सङ्ख्या पाँच लाख ३१ हजार पाँच सय २० रहेको छ। नेकपा (माओवादी केन्द्र)को चार लाख ८६ हजार ९१, राष्ट्रिय प्रजातन्त्र पार्टीको दुई लाख ८० हजार एक सय पाँच, जनता समाजवादी पार्टी नेपालको एक लाख ३१ हजार आठ सय १०, नेकपा (एकीकृत समाजवादी) को ८० हजार तीन सय दुई, जनमत पार्टीको ८० हजार दुई सय ३२, नागरिक उन्मुक्ति पार्टीको ७९ हजार सात सय ५२, नेपाल मजदुर किसान पार्टीको ५७ हजार सात सय ७०, लोकतान्त्रिक समाजवादी नेपालको ५६ हजार दुई सय २१, हाम्रो नेपाली पार्टीको ३३ हजार चार सय १९ मत, राष्ट्रिय जनमोर्चाको ३० हजार ६२ मत रहेको निर्वाचन आयोगले जनाएको छ।
सिरहा–१ मा एमालेका यादव निर्वाचित सिरहा । सिरहा क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का रामशङ्कर यादव निर्वाचित भएका छन् । यादवले सत्ता गठबन्धनअन्तर्गत नेपाली कांग्रेसका उम्मेदवार पूर्वउद्योग राज्यमन्त्री पदमनारायण चौधरीलाई पराजित गरी विजय हासिल गरेका हुन् । क्षेत्र नं १ का निर्वाचन अधिकृत लोकहरि बस्यालले दिएको जानकारीअनुसार निर्वाचित यादवले दुई हजार ८३ मतको मतान्तरले विजयी हासिल गरेका हुन् । सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार एमालेका यादवले २९ हजार चार सय ६२ मत प्राप्त गर्नुभयो भने उनका निकटतम प्रतिद्वन्द्वी चौधरीले २७ हजार तीन सय ७९ मत प्राप्त गरे । जनमत पार्टीका युगलकिशोर साह छ हजार आठ सय ४९ मत प्राप्त गरी तेस्रो स्थानमा रहे ।
दाङ १ मा मेटमणीलाई झण्डै पाँच हजार मतको अग्रता, दोस्रोमा शान्ता चौधरी दाङ । दाङ क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका नेता तथा सहरी विकास मन्त्री मेटमणी चौधरीले अग्रता फराकिलो बनाउँदै लगेका छन् । ६४ हजार २ सय १३ मत गणना हुँदा गठबन्धनका उम्मेदवार चौधरीले २२ हजार २ सय २८ मत प्राप्त गरेका छन् । निकटतम प्रतिष्पर्धी नेकपा एमालेकी उम्मेदवार शान्ता चौधरीले १७ हजार २ सय ६३ मत प्राप्त गरेकी छन् । उनीहरूबीचको मतान्तर ४ हजार ९ सय ६५ रहेको छ ।
हार निश्चित देखेपछि कोमल वलीले भनिन्– यस क्षेत्रको वास्तविक सेवक म नै हुँ दाङ । दाङ क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा तर्फ नेकपा एमालेबाट उम्मेद्वारी दिएकी कोमल वलीको हार निश्चीत भएको छ । पछिल्लो अपडेट अनुसार १० हजार मत गणना हुन बाँकी रहँदा वली नेपाली कांग्रेसका दिपक गिरीसँग ६ हजार ७ सय २९ मतले पछि परेकी छन् । हार निश्चीत देखेपछि वली सामाजीक सञ्जालमा मनका कुरा लेखेकी छन् । उनले भनेकी छन्– यस क्षेत्रको वास्तविक सेवक म नै हुँ । यो कुरा अझैपनि मेरो मनले भन्छ ।
तीन निर्वाचन क्षेत्रको मतगणना बाँकी, किन भयो ढिलाई ? काठमाडौं । गत आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मतगणना अझै तीन जिल्लाका तीन निर्वाचन क्षेत्रमा हुन बाँकी रहेको छ । बाजुरा, स्याङ्जा र दोलखाका तीन निर्वाचन क्षेत्रमा मगतणना हुन बाँकी रहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । निर्वाचनका बारेमा उठेका प्रश्नको निरुपणका लागि अनुसन्धान भइरहेकाले ती क्षेत्रमा मतगणनामा केही ढिलाइ भएको उनको भनाइ छ । कूल एक सय ६५ निर्वाचन क्षेत्रमध्ये एक सय ६२ स्थानमा मतगणना जारी छ । आयोगका अनुसार हालसम्म ५३ स्थानको नतिजा आइसकेको छ । आयोगको प्रणालीमा प्रविष्ट तथ्याङ्कअनुसार नेपाली कांग्रेस १९, नेकपा (एमाले) १२, नेकपा (माओवादी केन्द्र) छ, नेकपा (एकीकृत समाजवादी) चार, राष्ट्रिय प्रजातन्त्र पार्टी तीन र अन्य दल तथा उम्मेदवार आठ स्थानमा विजयी भएका छन् ।
यो निर्वाचनको ‘म्यान अफ दि इलेक्सन’ सागर ढकाल भएः मिलन पाण्डे काठमाडौं । काठमाडौं क्षेत्र नं. ९ को प्रतिनिधि सभा सदस्यमा पराजित भएका विवेकशिल साझाँ पार्टीका संयोजक मिलन पाण्डेले यो निर्वाचनको ‘म्यान अफ दि इलेक्सन’ सागर ढकाल भएको बताएका छन् । उनले सामाजिक सञ्जाल मार्फत आफ्नालागि यो निर्वाचनको ‘म्यान अफ दि इलेक्सन’ सागर ढकाल भएको बताएका हुन् । काँग्रेसका शक्तिशाली सभापति, देशको प्रधानमन्त्रीलाई बिदा गर्छु नयाँ पुस्ताको नेतृत्व गर्छु भनेर डडेल्धुरामा गएर निर्वाचन लड्नु सानो साहस, आत्मविश्वास नभएको भन्दै उनले सागरको प्रशंसा गरेका छन् । साथै, उनले करिब ५ वर्ष अगाडी यो निर्वाचनमा उठ्ने योजना बनाएको समेत स्मरण गरेका छन् । सधैँ, जित्नु मात्र पनि जित नभएको भन्दै पाण्डेले चुनौती दिन सकिन्छ भनेर अरूमा साहस भर्नु पनि जीत भएको उल्लेख गरेका छन् ।
कैलाली १ मा नागरिक उन्मुक्ति पार्टीको ‘क्लिन स्वीप’ धनगढी । कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ प्यानलसहित विजयी भएकी छन् । भारी मतका साथ प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार विजयी भएका हुन् । श्रेष्ठ ३० हजार ४०४ मतसहित विजयी भएकी हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका रामजनम चौधरीले १८ हजार ८१ मत पाएका छन् । नेकपा एमालेका तपेन्द्र रावल भने पाँच हजार ९१० मत पाए । प्रदेश सभातर्फको १ र २ मा पनि नागरिक उन्मुक्ति पार्टीकै उम्मेदवार विजयी भएका छन् । प्रदेशसभा १ मा कैलाश चौधरी विजयी भएका हुन् । कैलाश चौधरीले १५ हजार १०१ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका दीर्घराज बिनाडीले १० हजार ३७७ मत प्राप्त गरेका छन् । यस्तै, प्रदेश सभातर्फको २ मा लक्ष्मण किशोर चौधरी विजयी भएका छन् । लक्ष्मण चौधरीले ११ हजार ३१७ मत प्राप्त गरेका छन् । उनले सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री डा. रणबहादुर रावललाई तीन हजार २६४ मतान्तरले पराजित गरेका हुन् ।
सप्तरी ३ मा कांग्रेसका दिनेशकुमार यादव विजयी काठमाडौं । सप्तरी ३ मा नेपाली कांग्रेसका उम्मेदवार दिनेशकुमार यादव निर्वाचित भएका छन् । २६ हजार १६६ प्राप्त गर्दै यादव विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका ताराकान्त चौधरीले २२ हजार ३०० मत पाए । यादवले ३ हजार ८६६ मतान्तरले जितेका हुन् । २०५४ सालमा जिल्ला विकास समिति, सप्तरीको सभापतिमा निर्वाचित भएका यादवले पहिलो र दोश्रो संविधान सभामा यही क्षेत्रबाट प्रतिनिधित्व गरेका थिए । चौधरी एमालेको जिल्ला अध्यक्ष हुन् भने २०६४ को पहिलो संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।
यी चार चर्चित अनुहार जसले जमानत जोगाउन सकेनन् काठमाडौं । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम धमाधम सार्वजनिक भइरहेको छ । यस पटकको परिणाम विगतका निर्वाचनभन्दा भिन्न रहेको राजनीतिक विश्लेषकहरूको तर्क छ । यस पटकको निर्वाचनले कतिपय नयाँ अनुहार र दललाई चिनाएको छ भने, कतिपय चर्चित अनुहारले हार व्यहोरेका छन् । केही चर्चित उम्मेदवारको त जमानत समेत जफत भएको छ । जमानत जफत हुनेहरूमा पूर्वमन्त्रीदेखि पूर्वराज्यमन्त्रीसम्म छन् । नेपाल सरकारका मन्त्री भइसकेका जनता समाजवादी पार्टीका राजेन्द्र श्रेष्ठले पनि जमानत जोगाउन सकेनन् । काठमाडौं ७ बाट उम्मेदवार रहेका श्रेष्ठले कूल सदर मतको ६.८ प्रतिशत मात्र मत प्राप्त गरेका छन् । सो निर्वाचन क्षेत्रमा कूल ३६ हजार ६१ मत सदर भएको थियो । यस्तै, सोही क्षेत्रमा उम्मेदवार रहेका तथा यसअघि संघीय सरकारको राज्यमन्त्री भइसकेका रामवीर मानन्धरको समेत जमानत जफत भएको छ । उनले कूल सदर मतको ३.४ प्रतिशत मत प्राप्त गरेका छन्  । जमानत जफत हुनेमा यसअघि विवेकशील साझा पार्टीको केन्द्रीय सदस्य र  हाल काठमाडौं ५ बाट स्वतन्त्र उम्मेदवारी दिएकी रन्जु दर्शना छन् । प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार दर्शनाले खसेको कुल सदर मतको जम्मा १.४ प्रतिशत मात्रै मत पाएकी छिन् । काठमाडौं ५ मा सदर मत ४४ हजार २४९ छ । रन्जुले जम्मा ६ सय मत मात्र प्राप्त गरेपछि जमानत जफत भएको हो । ०७४ सालको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएर चर्चामा आएकी दर्शनाले उक्त निर्वाचनमा २३ हजार चार सय  ३९ मत ल्याएकी थिइन् । विवेकशील साझाकै पूर्व संयोजक मिलन पाण्डेको पनि जमानत जफत भएको छ । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं ९ बाट स्वतन्त्र उम्मेदवार रहेका पाण्डेले कूल २३ सय २७ मत प्राप्त गरेका छन् । उक्त क्षेत्रको कूल सदर मत ४२ हजार पाँच सय १७ मतमा पाण्डेले २३ सय २७ मत प्राप्त गरेका छन् । यो कूल सदर मतको ५.५ प्रतिशत मत मात्रै हो । पाण्डेले ०७४ सालको निर्वाचनमा भने चार हजार नौ सय ४६ मत प्राप्त गरेका थिए । यद्यपि, यस पटक भने उनको जमानत समेत जफत भएको छ । सदर मतको १० प्रतिशत मत ल्याउन नसके उम्मेदवारको जमानत जफत हुने कानुनी व्यवस्था छ । प्रतिनिधि सभातर्फका उम्मेदवारले मनोनयन दर्ता गर्दा धरौटीबापत १० हजार रुपैयाँ जम्मा गर्नुपर्ने व्यवस्था छ ।
केपी ओलीले लिए निर्वाचित प्रमाणपत्र काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अत्यधिक मतले विजयी भएपश्चात निर्वाचित प्रमणपत्र लिन झापा पुगेका छन् । उनीसहित झापा ५ बाट विजयी प्रदेशसभाका सांसदलाई पनि निर्वाचन अधिकृत डम्बरप्रसाद काफ्लेले प्रमाणपत्र दिएका छन् ।
रेखा शर्मालाई बधाई दिदै मेटमणीले भने– पश्चागामीका मुख्य मतियारको हार भयो काठमाडौं । नेकपा एकीकृत समाजवादीको नेता तथा सहरि विकास मन्त्री मेटमणी चौधरीले एमालेका महासचिव शंकर पोखरेलको हारप्रति ब्याङ्गय गरेका छन् । उनले सामाजिक संजाल फेसवुक मार्फत् पोखरेलको हारलाई प्रतिगामिका मुख्य मतियारको हार भएको टीप्पणी गरेका हुन् । उनले लेखेका छन्– ‘दाँङको २ नम्बरमा जितियो । प्रतिगामि/पश्चागामिका मुख्य मतियारको हार भयो । नेपालको राजनिति जहिले नि प्रगतिशिलहरू जित्ने सस्कृति छ । बधाई छ– निष्कलंक ब्यक्ति रेखा शर्मालाई’ । दाँङ–२ बाट एमालेका पोखरेल गठबन्धनकी रेखा शर्मासंग झिनो मतान्तरले पराजित भएका छन् ।
चितवनमा २ मा पोखरेललाई उछिन्दै दोस्रो स्थानमा उक्लिए श्रेष्ठ, लामिछानेको कति ? काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले अग्रतालाई फराकिलो बनाएका छन् । लामिछाने २८ हजार ८ सय ९९ मतका साथ अग्रस्थानमा रहेका हुन् । पछिल्लो परिणाम अनुसार यस क्षेत्रमा नेकपा एमालेका कृष्णभक्त पोखरेललाई उछिन्दै नेपाली कांग्रेसका उमेश श्रेष्ठ दोस्रो स्थानमा उक्लिएका छन् । श्रेष्ठले ११ हजार १ सय ८३ मत प्राप्त गरेका छन् । साथै, एमालेका पोखरेलले ११ हजार २१ मत ल्याएका छन् ।
‘कमेडियन’ हिमेश पन्तले अहिलेसम्म कति मत ल्याए ? काठमाडौं । धादिङ क्षेत्र नम्बरमा एकमा राष्ट्रिय स्वातन्त्र पार्टीबाट उम्मेद्वारी दिएका ‘कमेडियन’ हिमेश पन्त तेस्रो स्थानमा रहेका छन् । उनले हालसम्म ८ हजार ७३ मत ल्याएका छन् । यस क्षेत्रमा नेकपा एकिकृत समाजवादीका राजेन्द्र प्रसाद पाण्डेले अग्रता कायम राखेका छन् । उनले नेकपा एमालेका भुमिप्रािद त्रिपाठीलाई पछि निरन्तर पछि पार्दै अग्रता बनाइरहेका हुन् । पाण्डेले १७ हजार ९ सय ६७ मत ल्याएका छन् । यस क्षेत्रमा एमालेका त्रिपाठीले १६ हजार ५ मत ल्याएका छन् ।
मकवानपुर २ः प्रदेशसभा (२) मा इन्द्र बानियाँ विजयी मकवानपुर । मकवानपुर निर्वाचन क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा (२) मा सत्ता गठबन्धबाट नेपाली कांग्रेसका इन्द्र बानियाँ विजयी भएका छन् । उनले १८ हजार सात सय १६ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का लालबहादुर थापामगरले १६ हजार नौ सय ३४ मत प्राप्त गरे । बानियाँले एक हजार सात सय ८२ मतान्तरले जित हात पारेका हुन् । विजयी घोषणा भइसकेपछि बानियाँले मकवानपुरका सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै आफू भावी मुख्यमन्त्रीको दावेदारसमेत रहेको बताए । तेस्रो पटक विजय हात पार्नुमा मकवानपुरे जनताले आफ्नो आवश्यकता महसुस गरेको उनको भनाइ छ ।
कञ्चनपुर ३ मा एमालेकी निरुदेवी पाललाई हराउँदै रमेश लेखक निर्वाचित कञ्चनपुर । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका नेता रमेश लेखक निर्वाचित भएका छन् । उनले नेकपा एमालेकी नीरुदेवी पाललाई पराजित गर्दै विजयी भएका हुन् । कांग्रेसका लेखकले ३० हजार ५ सय २३ मत ल्याएका छन् । यस्तैगरि दोस्रो स्थानकी एमाले नेतृ पालले १८ हजार ४ सय ४८ मत ल्याएकी छन् ।
सुवासचन्द्र नेम्वाङको क्षेत्रमा विवाद भएपछि मतगणना रोकियो इलाम । इलाम क्षेत्र नम्बर २ मा मतगणना स्थगित भएको छ। नेपाली कांग्रेसका उम्मेदवारले गणना भइसकेको मतपत्रलाई लिएर विवाद उठाएपछि मतगणना स्थगित भएको हो। विवाद भएपछि सर्वदलीय बैठक बसेर विवाद मिलाउने तयारी भइरहेको छ । ‍इलाम २ मा एमालेका सुवासचन्द्र नेम्वाङ र कांग्रेसका डम्बरबहादुर खड्काबीच प्रतिस्पर्धा भइरहेको छ।
बागलुङ २ मा शिक्षामन्त्री पौडेल जीत नजिक बागलुङ । बागलुङ क्षेत्र नं २ मा शिक्षामन्त्री देवेन्द्र पौडेल जीत नजिक पुगेका छन् । लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेकपा (माओबादी केन्द्र)का सचिव पौडेलले दिउँसो ३ बजेसम्मको मत परिणामअनुसार २३ हजार दुई सय २५ मतका साथ अग्रस्थानमा छन् । उनलाई नेकपा (एमाले)की मञ्जु चालिसेले १८ हजार आठ सय २१ मतका साथ पछ्याइरहेका छन् । अब मतगणना हुन दुई वटा मात्रै बाँकी रहँदा जीत सुनिश्चित भएको माओबादी केन्द्रका जिल्ला इञ्चार्ज बलावती शर्माले दाबी गरे । निर्वाचन अधिकृतको कार्यालयका अनुसार ढोरपाटन नगरपालिकाको थुप्लाङ र बुर्तिबाङ मतदान केन्द्रका मतपेटिकामा भएका मत गणना गर्न बाँकी छ ।
सर्लाही २ मा महिन्द्र राय यादवको अग्रता, पछ्याउँदै राजेन्द्र महतो सर्लाही । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन अन्तर्गत सर्लाही क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार महिन्द्र राय यादवले अग्रता लिएका छन् । यादव २३४२ मतसहित अघि छन् ।  यस्तै लोकतान्त्रिक समाजवादी पार्टीका राजेन्द्र महतोले  यादवलाई पछ्याइरहेका छन् । महतो १७१५ मतसहित दोस्रो स्थानमा छन् ।
यस्तो छ कैलालीको पछिल्लो निर्वाचन ‘अपडेट’ कैलाली । कैलाली प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ कम जारी मतगणनामा प्रतिनिधिसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार रञ्जिता श्रेष्ठ चौधरीले अग्रता कायम राखेकी छिन् । उनले हालसम्म आठ हजार दुई सय ३६ मत प्राप्त गरेकी छिन् । उनलाई नेपाली कांग्रेसका रामजनम चौधरीले पाँच हजार एक सय ८३ मतसहित पछ्याइरहेका छन् । तेस्रो स्थानमा रहनुभएका नेकपा (एमाले)का तपेन्द्र रावलले एक हजार आठ सय ४७ मत प्राप्त गरेका छन् । सो क्षेत्रमा खसेका मतमध्ये आज साँझसम्म करिब २० प्रतिशत मत गणना भएको छ । साथै, निर्वाचन क्षेत्र नं २ मा नागरिक उन्मुक्ति पार्टीका प्रत्यासी अरुणकुमार चौधरी तीन हजार एक सय २७ मतसहित अग्रस्थानमा छन् । उनलाई नेकपा (माओवादी केन्द्र)का भगतबहादुर बडुवाल दुई हजार एक सय ७७ मतसहित पछ्याइरहेका छन् । तेस्रो स्थानमा एमाले उम्मेदवार झपटबहादुर रावलले एक हजार नौ सय ७२ मत प्राप्त गरेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ३ बाट भने नागरिक उन्मुक्ति पार्टीका गङ्गा चौधरी २३ हजार एक सय २० मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का कृष्णकुमार चौधरीले १७ हजार सात सय ४९ मत प्राप्त गरेका छन् । निर्वाचन क्षेत्र नं ४ मा सुरुदेखि अग्रता बनाउनुभएका नेपाली कांग्रेसका वीरबहादुर बलायरलाई नेकपा एमालेका लेखराज भट्टले उछिनेका छन् । जारी मतगणनामा भट्टले २० हजार दुई सय १४ मत पाउँदा बलायरले १९ हजार आठ सय १९ मत प्राप्त गरेका छन् । आज बिहानदेखि सुरु भएको निर्वाचन क्षेत्र नं ५ (धनगढी क्षेत्र)को पछिल्लो मतगणना अनुसार नेकपा एमालेका नारदमुनी रानाथारुले एक हजार दुई सय ८० मत पाउँदा नेपाली कांग्रेसका डिल्लीराज पन्तले एक हजार ३९ मत पाएका छन् ।
बढ्यो रविको रफ्तार, कति पुग्यो मतान्तर ? काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रतालाई फराकिलो बनाएका छन् । पछिल्लो मतपरिणाअनुसार लामिछानेले ६ हजार ४ सय १ मत प्राप्त गरेका छन् । उनले एमालेका पोखरेललाई १७ सय ६५ मतले पछि पारेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका कृष्णभक्त पोखरेल ४ हजार ६ सय ३६ मतसहित लामिछानेलाई पछ्याइरहेका छन् । यस क्षेत्रमा कांग्रेसका उमेश श्रेष्ठ ४ हजार १ सय ६५ मतसहित तेस्रो स्थानमा छन् ।
कास्की–२ः घण्टीको सुरुवाती अग्रतालाई तोड्दै अगाडी बढीन विद्या भट्टराई कास्की । कास्की क्षेत्र नं २ मा नेकपा (एमाले) की विद्या भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का माधवप्रसाद कँडेललाई पछि पारेकी छिन् । जारी मतगणनामा कास्की क्षेत्र नं २ मा रास्वपाका कँडेलले सुरुआती अग्रता लिएका थिए । पछिल्लो मतपरिणामअनुसार एमालेकी भट्टराई चार हजार आठ सय ५१ मत प्राप्त गर्दै अग्रस्थानमा छिन् । उनलाई रास्वपाका कँडेलले चार हजार सात सय सात मतसहित पछ्याएका छन् । नेकपा (एकीकृत समाजवादी) का श्रीनाथ बरालले तीन हजार दुई सय सात मत प्राप्त गरेका छन् । उक्त निर्वाचन क्षेत्रको प्रदेशसभा (१) मा एमालेका उम्मेदवार भीमबहादुर कार्की पाँच हजार नौ मतसहित अग्रस्थानमा छन् भने उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विजयबहादुर भण्डारीले चार हजार छ सय १२ मतसहित पछ्याइरहेका छन् ।
कैलाली १ मा रेशम चौधरी पत्नी रञ्जिताको अग्रता कायमै टीकापुर । कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति पार्टीकी उम्मेदवार रञ्जिता श्रेष्ठले अग्रता कायम राखेकी छन् । हालसम्म भएको  १८ हजार ३६५ मत गणना हुँदा रञ्जिताले ८ हजार २३६ मत प्राप्त गरेकी छन् । यस्तै, नेपाली कांग्रेसका उम्मेदवार रामजनम चौधरीले ५ हजार १८३ मतका साथ पछ्याइरहेका छन् । नेकपा एमालेका उम्मेदवार तपेन्द्र रावल १ हजार ८४७ मत प्राप्त गरेका छन् ।
डडेल्धुरामा सागर ढकालले कटाए ७ हजार मत काठमाडौं । डडेल्धुरा क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेद्वार सागर ढकालले ७ हजार मत कटाएका छन् । पहिलो स्थानमा रहेका प्रधानमन्त्री समेत रहेका गठबन्धनका उम्मेद्वार शेरबहादुर देउवाले १३ हजार मत कटाउदा सागरले ७ हजार मत कटाएका हुन् । पछिल्लो अपडेट अनुसार यस क्षेत्रमा देउवाले १३ हजार १ सय २६ मत ल्याएका छन् । यसैगरि ढकालले ७ हजार २ मत ल्याएका छन् भने नेपाली कांग्रेस विपीका कर्ण मल्लले ३ हजार ८ सय ४१ मत ल्याएका छन् ।
स्वतन्त्र पार्टीका सेनसँग ५ सय मतले पछाडि परे विनोद चौधरी काठमाडौं । नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरी राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरीसँग पाँच सय मतले पछि परेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका ठकुरीले ७ हजार ३ सय ९१ मत ल्याएका छन् । चौधरी ६ हजार ८ सय ९० मतसहित सेनलाई पछ्याइरहेका छन् । यसअघि सोही क्षेत्रबाट निर्वाचित हृदयेश त्रिपाठी भने तेस्रो नम्बरमा झरेका छन् । जनता प्रगतिशिल पार्टी, नेपालका अध्यक्ष समेत रहेका उनी नेकपा एमालेको समर्थनमा उम्मेदवार भएपनि ५ हजार ५ सय ८९ मतसहित प्रतिस्पर्धामा छन् ।
दाङ १ः मेटमणीको अग्रता कायमै, शान्ता झन्डै दोब्बर मतले पछि दाङ । दाङ क्षेत्र नम्बर १ मा एकीकृत समाजवादीका उम्मेदवार मेटमणी चौधरीले अग्रता कायम राखेका छन् । सहरी विकासमन्त्रीसमेत रहेका चौधरीले ६ हजार ९ सय ७० मत गन्दा २ हजार ५ सय ६२ मत प्राप्त गरेका छन् । यस्तै दोस्रो स्थानमा एमालेकी उम्मेदवार शान्ता चौधरी छन् । उनले १ हजार ७ सय १५ मतसहित मेटमणिलाई पछ्याइरहेकी छन् । तेस्रो स्थानमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीकाका देवराज पाठकले १ हजार ४ सय ३७ मत ल्याएका छन् ।
ताप्लेजुङमा योगेशले लिए सुरुवाति अग्रता ताप्लेजुङ । ताप्लेजुङमा प्रतिनिधिसभा तर्फको मतगणनामा नेकपा एमालेका योगेश भट्टराईले प्रारम्भिक अग्रता लिएका लिएका छन् । फक्ताङलुङ गाउँपालिकाको याङ्मा र ओलाङचुङगोलाको १ सय ९ मत गणना हुँदा योगेशले ६८ मत प्राप्त गरेका छन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार खेलप्रसाद बुडाक्षेत्रीले ३३ मत प्राप्त गरेका छन् । यस्तै, राप्रपाका रामबहादुर कार्कीले २, जसपाका चन्द्र मादेनले १ र लोसपाका चैतन्य प्रकाश केदेमले १ मत प्राप्त गरेका छन् । गणना भएको १ सय ९ मतमध्ये ४ मत बदर भएको छ ।
इलाम २ः तीन सय मतले पछि परे सुवास नेम्वाङ इलाम । इलाम क्षेत्र नम्बर २ बाट एमालेका उम्मेदवार सुवास नेम्वाङ तीन सय एक मतले पछि परेका छन् । नेम्वाङ तीन हजार चार सय ५५ मतसहित दोस्रो स्थानमा छन् । कांग्रेसका उम्मेदवार डम्बर खड्काले तीन हजार सात सय ५६ मतसहित अग्रता लिइरहेका छन् ।
झापा १ मा पाँच हजारभन्दा बढी मतले विश्वप्रकाश अगाडि झापा । झापा १ मा सत्ता गठबन्धनका उम्मेदवार विश्वप्रकाश पौडेल एमालेका अग्नी खरेलभन्दा पाँच हजारभन्दा बढी मतले अघि रहेका छन् । पछिल्लो मतपरिणामअनुसार पौडेलले १४ हजार नौ सय नौ र खरेलको नौ हजार सात सय नौ मत रहेको छ । झापाको सबै क्षेत्रको ताजा अपडेट झापा क्षेत्र नम्बर १ रुख १४९०९ विश्व प्रकाश सुर्य ९७०९  अग्नी खरेल झापा क्षेत्र नम्बर २  सुर्य ११३४०  देवराज घिमिरे क्रस खुकुरी १०१८० स्वागत नेपाल झापा क्षेत्र नम्बर ३ रुख  ६५५३    कृष्ण सिटौला हलो  ८७४४    राजेन्द्र लिंगदेन झापा क्षेत्र नम्बर ४ रुख ५३०७     देउमान थेवे सुर्य ७३२१      एलपि सावा घण्टी ६६७२    सम्भु ढकाल झापा क्षेत्र नम्बर ५ रुख १०३०७      खगेन्द्र अधिकारी सुर्य १७४६८      केपी ओली
रुपन्देही– १ मा घनश्याम भुसाल एमालेका विश्वकर्माभन्दा ५७८ मतले पछाडि रुपन्देही । स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसाल रुपन्देही– १ मा ५७८ मतले पछि परेका छन् । एमालेका छविलाल विश्वकर्मालाई पछ्याउँदै अघि बढिरहेका भुसालले पछिल्लो मतपरिणामअनुसार १,९६४ मत प्राप्त गरेका हुन् । यस्तै एमालेका विश्वकर्माले भने २५४२ मतसहित अग्रता लिएका छन् । यो क्षेत्रमा पछिल्लो मतपरिणामअनुसार नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार रहेका धनिराम चौधरीले १८७७ मत प्राप्त गरेका छन् । यस्तै जनमत पार्टीका कैलाश गुरुङले १३२० मत र राष्ट्रिय स्वतन्त्र पार्टीका नरबहादुर पछाईले ९५६ मत पाएका छन् ।