content
stringlengths 20
64.1k
⌀ |
---|
इजरायल रोजगारीः भाषा परीक्षा १ बजेदेखि हुँदै, रिजल्ट दुई दिनभित्रै निकाल्ने काठमाडौं । रोजगारीका लागि इजरायल जान सञ्चालन गरिने अंग्रेजी भाषाको परीक्षा आज(सोमबार) हुने भएको छ । इजरायलमा दीर्घकालीन सेवा केन्द्रमा रोजगारीका लागि गरिने अंग्रेजी भाषाको परीक्षा वैदेशिक रोजगार विभागले तोकेको आज(भदौ २८ गते दिउँसो १ बजेदेखि)को मितिमै हुने भएको हो ।
विभागले उक्त परीक्षा स्वास्थ्य मापदण्ड पालना गर्दै भौतिक उपस्थितिमा स्वतन्त्र, निष्पक्ष र मर्यादित ढंगले संचालन हुने जनाएको छ । र, यसको रिजल्ट(परीक्षाफल) २ दिनभित्रै निकालिसक्ने बताइएको छ ।
आकर्षक श्रम गन्तव्यका रूपमा हेरिएको इजरायलको परीक्षाका लागि ९ हजार ६ सय ९९ जनाको आवेदन परेको थियो । त्यसमध्ये रुजु गर्दा ७ हजार ९ जना परीक्षामा सामेल हुँदै छन् । अन्यको आवेदन अस्वीकृत भएको विभागका निर्देशक तथा इजरायल शाखाका प्रमुख डम्बरबहादुर सुनुवारले बताइसकेका छन् ।
७ हजार ९ जनामध्येबाट पनि १६ सय जनालाई रोस्टरमा पठाइने छ भने त्यसमध्येबाट पनि मौखिकबाट छनौट गरी १४ सय जनाको रिजल्र्ट विभागले इजरायल पठाउने छ । र, इजरायलले लिखित र मौखिक परीक्षामा पास भएका तिनै १४ सय जनाबाट उत्कृष्ट १ हजार जनालाई छनौट गर्ने छ । त्यसमा ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष हुने छन् ।
विभागका अनुसार आजको लिखित परीक्षा पास गरेपछि विभागले मौखिक गर्छ । अंग्रेजी भाषाको परीक्षा ८० पूर्णाङ्कको हुनेछ भने २० पूर्णाङ्कको अन्तर्वार्ता अर्थात् मौखिक हुन्छ । पास हुनको लागि ८० पूर्णाङ्कमा ५० प्रतिशत ल्याउनु पर्छ अर्थात् ४० नम्बर ल्याउनु पर्ने हुन्छ ।
परीक्षा काठमाडौंका विभिन्न विद्यालय तथा कलेजहरुमा हुने भएको छ, अर्थात् ११ वटा स्थानमा १६ वटा केन्द्रहरु तोकिएको छ ।
|
अमेरिकाको केन्टकीमा नेपाली युवाहरुलाई प्रोत्साहन र सम्मान केन्टकी, अमेरिका । गैरआवासीय नेपाली संघ, केन्टकीले स्थानीय अरु नेपाली संस्थाहरुसँग मिलेर अमेरिकामा हुर्कदैँ गरेको दोस्रो पुस्ताका नेपाली युवा युवतीलाई प्रोत्साहित गरेको छ।
एएनकेए, एनएएसके र इनास केन्टकीसमेतको सहभागितामा नेपाली समुदायबाट हाइइस्कुल ग्राजुएट गर्ने ५० जना विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो । गैरआवासीय नेपाली संघ, अमेरिकाज क्षेत्रका संयोजक राजन त्रिपाठीको प्रमुख आतिथ्यमा सेप्टेम्बर १२ आइतबार सम्पन्न सो कार्यक्रममा केन्टकीमा एनआरएनएका गतिविधि शुरुवात गर्ने अग्रजद्वय पुरुषोत्तम बोहोरा, शशी अधिकारी, एनआरएनएका पहिलो दोस्रो कार्यकालका अध्यक्ष दिलु पराजुलीलाई एनआरएनए मुभमेण्ट सम्मानले सम्मानित गरिएको थियो।
अमेरिकाको केन्टकी राज्यको लेक्सिनटनमा सम्पन्न सो कार्यक्रममा चलचित्र निर्देशक सुमन दाहाललाई कलाकारितामा हौशला र प्रोत्सान गरेकोमा, अति राम्रो नृत्य गरेकोमा बाल प्रतिभा बारुणी पाण्डेलाई प्रोत्साहन सम्मान, सौरभ खड्का,सफल डुम्रे, सार्थक रिजाललाई युथ भोलेन्टियर अवार्ड, निशान बुढाथोकी, विशेष पौडेललाई युथ अवार्ड दिइएको थियो।
सम्मानितहरुलाई सम्मान गर्दै प्रमुख अतिथि त्रिपाठीले एनआरएनएले युवा पुस्तालाई प्रोत्साहित गर्न नसके, उनीहरुलाई एनआरएनए अभियानमा सक्रिय बनाउन नसके एनआरएनए अहिलेको पुस्तामा मात्र सिमित हुने बताए। उनले केन्टकी च्याप्टर र अरु संस्थाहरुको सहभागितामा स्थानीय नेपाली मुलका युवाहरुलाई प्रोत्साहित गर्दै अभियानमा सरिक गराउने कामको सह्राना पनि गरे। उनले गुट, उपगुटमा विभाजित भएर स्वार्थमा एनआरएनए अभियानलाई डुवाउनु नहुनेमा सबै सचेत हुनुपर्ने धारणा राखेका थिए।
अर्जुनकिशोर न्यौपाने र डमरु पौडेलले संचालन गरेको केशवराज लोहनीको अध्यक्षतामा भएको सो कार्यक्रममा पुरुषोत्तम बोहोरा र दिलु पराजुली विशेष अतिथि थिए। |
चुनाव जित्न राजनीतिक दलको शरण लिनु एनआरएनएकै बेइज्जत : डा. केसी जर्मनी । गैर आवासीय नेपाली संघका उपाध्यक्ष तथा अध्यक्ष पदका प्रत्यासी डा. बद्रि केसीले राजनीतिक दलका शरणमा पुगेर चुनाव जिताइदिन आग्रह गर्ने परिपाटीको अन्त्य हुनुपर्ने बताएका छन । एनआरएनएको अक्टोबरमा हुने भनिएको दशौं महाधिवेशनको अवसर पारेर शनिबार देश र विदेशका प्रवासी पत्रकारहरूसँगको अन्तरक्रियामा डा. केसीले एनआरएनजस्तो सामाजिक संस्थाको न्युनतम गरिमा समेत नराखी चुनाव जिताइदिन भन्दै नेताको घरदैलो चहार्दै हिड्नु अभियानकै बेइज्जत भएको बताएका हुन् ।
राजनीतिक दलका नेताहरुसँग राम्रो सम्बन्ध बनाउनुपर्छ तर संस्थामा हस्तक्षेप भित्राउने गरी लम्पसार नपर्न सरोकारवालाहरुलाई आग्रह गर्दै केसीले भने, “नेपालका राजनीतिक दलका शीर्ष नेताहरूसँग मेरो पनि राम्रो सम्बन्ध छ । उहाँहरुसँगको भेटमा चुनाव जिताइदिन आग्रह गर्दै सहयोगको याचना गर्नेहरुलाई मतदाताहरूसँग जान र विधानअनुसार अघि बढ्न सुझाव दिनुहोला भन्ने गरेको छु । मैले भेटेर फोटो खिच्दैमा राजनीतिक दलको उम्मेदवार भयो र जित्नको लागि याचना गर्न पुग्यो भन्ने हुँदैन । म त ती भेटहरुमा तपाईहरु एनआरएनलाई हस्तक्षेप नगरिदिनुस, संस्था हाँक्न हामी सक्षम छौं भनेर भन्ने गरेको छु । ” संस्थाको मर्यादा कायम राख्दै राजनीतिक हस्तक्षेपमुक्त बनाउन अध्यक्ष पदमा आफ्नो उम्मेदवारी रहने भन्दै उनले विचार मिल्ने साथीहरूको टिम बनाएर अघि बढ्ने तर प्यानलनै भनेर घोषणा भने नहुने बताए । त्यसैगरी राजनीतिक हस्तक्षेप र पैसाको चलखेल रोक्न अनलाइन भोटिङको व्यवस्था मिलाइएको उनको दावी छ ।
१८ वर्षको अवधिमा संघले आफ्नो मार्गचित्र स्पष्टरुपमा कोरेको र आगामी कार्यसमितिले त्यसअनुरुप काम गर्नुपर्ने बताउँदै केसीले गैरआवासीय नेपालीले राजनीतिकबाहेक सामाजिक, सांस्कृतिक र आर्थिक अधिकार पाउनुपर्ने पक्षको सुनिश्चिता अब अन्तिम चरणमा रहेको दावी समेत गरे । साथै अन्तरक्रियामा बोल्दै डा. केसीले नेपाली नागरिकता लिएको खण्डमा विदेशी नागरिकता गुम्ने देशमा रहेका नेपालीलाई गैरआवासीय कार्डमार्फत ती अधिकार सुनिश्चिता गरिनुपर्छ भन्ने पक्षमा आफू रहेको बताए । विदेशमा बस्दा नेपालको पैतृक सम्पत्ति वा नेपालमा रहंदा कमाएको सम्पत्तिको सुरक्षा र एनआरएन कार्डका आधारमा आर्थिकलगायतका कार्य गर्न पाए पनि अन्य अधिकारका लागि अझै समस्या रहेको उनको भनाइ छ । अन्तक्र्रियामा डा. केसीले गैरआवासीय नेपाली ऐन परिमार्जन गर्न आवश्यक भएको पनि बताएका छन् । ऐनमा भएको प्रावधानअनुसार सीमितरुपमा लगानी गर्न वा सम्पत्ति किन्न सक्ने प्रावधान भएपनि व्यवहारमा सम्भव नभएकाले ऐनका प्रावधानहरूमाथि पुर्नविचार गर्नुपर्ने बताएका हुन् ।
एनआरएनएमा बौद्धिक व्यक्तित्वको छबि बनाएका डा. केसी १८ वर्षदेखि एनआरएनएमा सक्रिय छन् । उनी सन् २००७ मा एनआरएन रुसको महासचिव, २००९ देखि दुई कार्यकाल आइसीसी सदस्य, २०१३ देखि २०१५ सम्म कोषाध्यक्ष भएका थिए । २०१५ देखि दुई कार्यकाल महासचिव बनेका डा. केसी वर्तमान कार्यसमितिमा उपाध्यक्ष छन् । |
अनियमितता छानविन नहुञ्जेलसम्म एनआरएनएको निर्वाचन रोक्न नेपाल सरकारको निर्देशन (पत्रसहित) काठमाडौं । नेपाल सरकारले विश्वभर छरिएर रहेका नेपालीहरुको साझा संस्था गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचन र अधिबेशन रोक्न लिखित आदेश दिएको छ । सरकारले संघको निर्वाचन प्रक्रियमा भएका अनियमितताबारे छानविन गर्ने र छानविन प्रतिवेदन नआउन्जेलसम्मका लागि निर्वाचनको काम रोक्न आदेश दिएको हो ।
नेपाल सरकार परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघ, अन्तर्राष्टिय समन्वय परिषद्लाई सम्बोधन गर्दै भदौ २५ गते जारी गरेको निर्देशन पत्रमा अन्तर्राष्टिय समन्वय परिषद् तथा राष्टिय समन्वय परिषद्का निर्वाचनसम्बन्धी बांकी काम रोक्नू भनिएको छ ।
नेपाल सरकारले एनआरएनए आईसीसीका लागि प्रतिनिधि छान्ने क्रममा विभिन्न देशहरुमा धांधली भएको भन्ने उजुरीहरु प्राप्त भएको भन्दै त्यस्ता उजुरीहरु छानविन गर्न मन्त्रालयका सहसचिव भरतकुमार रेग्मीको संयोजकत्वमा तीन सदस्यीय अनुगमन समितिसमेत गठन गरेको छ । सहसचिव रेग्मी परराष्ट्र मन्त्रालयको नीति,योजना, विकास कुटनीति तथा विदेशमा रहेका नेपाली सम्बन्धी महाशाखा प्रमुख हुन् । रेग्मीको समितिमा कानून,न्याय तथा संसदीय व्यवस्था मन्त्रालय र संचार तथा सूचना प्रविधि मन्त्रालयका प्रतिनिधि सदस्य छन् । यो समितिले कति समयमा प्रतिवेदन बुझाउने भन्ने कुरा निर्देशन पत्रमा केही उल्लेख गरिएको छैन । तर, यो समितिले प्रतिवेदन नबुझाउन्जेलसम्मलाई आईसीसी र एनसीसीका निर्वाचनसम्बन्धी सबै काम रोक्न भने आदेश जारी गरिएको छ ।
सरकारी निर्देशन पत्रमा अष्ट्रेलिया, जर्मनी, अमेरिका, न्यूजिल्याण्ड, बेल्जियम, स्वीडेन, नेदरल्याण्ड, डेनमार्क, पोर्चुगललगायतका मुलुकहरुमा निर्वाचनमा अनियमितता भएकोबारे उजुरी परेको र ती देशहरुका निर्वाचनबारे छानविन गरिने उल्लेख गरिएको छ । पत्रमा एनआएएनए एनसीसी जापानको निर्वाचनमा भएको अनियमितता बारे सोधिएको पत्रको जवाफबारे प्रतिउत्तर नदिएको आरोप पनि एनआरएनए आईसीसीलाई लगाइएको छ । जापानको निर्वाचनमा एमआईएस सिष्टम प्रयोग गरेको र त्यसमा आफू पक्षधरलाई जिताउन फर्जी मतको प्रयोग भएको आरोप वामपन्थी पक्षलाई लगाइएको छ ।
गैरआवासीय नेपाली संघ सम्बन्धी नियमावलीवमोजिम नै सरकारले निर्देशन दिएको पत्रमा उल्लेख गरिएको छ । नेपाल सरकारको पत्रमा भनिएको छ,“गैरआवासीय नेपाली सम्बन्धी नियमावली २०६६ को नियम १६ बमोजिम उल्लेखति वियाहरुमा अनुगमन गर्न परराष्ट्र मन्त्रायको नीति, योजना, विकास, कुटनीति तथा विदेशमा रहेका नेपालीसम्बन्धी महाशाखा प्रमुखको संयोजकत्वमा कानुन,न्याय तथा संसदीय मामिला मन्त्रालय र संचार तथा सूचना प्रविधि मन्त्रालयका प्रतिनिधि सदस्य रहेको अनुगमन समिति गठन भएको व्यहोरा मिति २०७८ । ५ ।२५ को निर्णयानुसार अनुरोध गरिन्छ ।
गैरआवासीय नेपालीसम्बन्धी नियमावलीमा “संघको लेखा, तथा काम कारवाहकिो सम्बन्धमा मन्त्रालयले अनुगमन गर्न सक्ने, अनुगमन गर्दा संघको काम कारवाहीमा कुनै सुधार गर्न आवश्यक देखिएमा मन्त्रालयले आवश्यक निर्देशन दिन सक्ने र यसरी दिइएको निर्देशनको पालना गर्नु संघको कर्तव्य हुने” उल्लेख गरिएको छ ।
सरकारले निर्वाचनसम्बन्धी सबै काम रोक्नु भन्दै निर्देशन दिएपछि संघको आईसीसी सचिवालयको जरुरी बैठक बसेको थियो । सो बैठकमा लोकतान्त्रिक समूहका पक्षधरहरुले सरकारी पत्रको स्वागत गरेका थिए भने वामपक्षले विरोध गरेको थियो । “कमी कमजोरी भएको छ त्यसलाई हटाएर मिलाएर जानुपर्छ भन्ने मेरो धारणा हो,” आईसीसीका उपाध्यक्ष सोनाम लामाले डिसी नेपालसंग भने । सरकारले गैरआवासीय नेपालीको मामिलामा अनावश्यक हस्तक्षेप गरेको आरोप अर्को पक्षले लगाएको छ । यसविरुद्ध कानुनी लडाइ लड्ने र वकिलहरुसंग परामर्श गरेर मुद्धामा जाने तर कुनै हालतमा निर्वाचन नरोक्ने अडानमा सो पक्ष रहेको छ ।
|
मलेसियामा कोरोनाले बित्यो मेरो तन्दुरुस्त भतिजो काठमाडाैं । शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गोबिन्दबहादुर कार्की हातमा डकुमेन्ट बोकेर एक्लै अध्यारो अनुहार लगाएर टोलाइरहेका थिए। वैदेशिक रोजगारीको क्रममा विदेशमा कोरोना संक्रमणबाट मृत्यु भएका ४० वर्षीय भतिज नरबहादुर कार्कीको अस्तु लिन गएका उनी त्यहाँ आउँदै गरेका अरू आफन्तहरुलाई पर्खिरहेका थिए।
बसिराखेका कार्कीसँग जिज्ञासा लिँदा उनले हातमा बोकेको डकुमेन्टमध्येबाट राहदानी देखाउँदै भने, ‘यही हो, मेरो भतिजो । यसको म काका हो । तन्दुरुस्त मान्छे थियो, कोरोनाले मृत्यु भयो।’
विमानस्थलमा आइपुगेको भतिजाको अस्तु लिन आएका कार्कीका अनुसार मृतक नरबहादुरको घर रामेछाप हो । मृतकको परिवारमा आमा, दुईजना भाई, एक बहिनी, श्रीमती र दुई छोराछोरी छन्। उनको मृत्यु मलेसियामा २२/२३ दिनअघि कोरोना संक्रमणले भएको रहेछ।
गोबिन्दबहादुरले भने, ‘मृतकको स–साना दुई वटा छोराछोरी छन् । श्रीमती बच्चाहरु काठमाडौंमै थिए। अहिले गाउँ किरिया बस्न गएकी छन्। गाउँमा किरिया बसेको आज १० दिन भयो । उता (मलेसिया)बाट पठाएको छ, अस्तु । यही पशुपतिमा मैले सेलाइदिन्छु।’
मलेसियास्थित अस्पतालमा उपचारको क्रममा नरबहादुरको मृत्यु भएको रहेछ। उनको अस्पतालबाट शव उठेपछि मात्रै यता किरिया बसेको बताउँदै मृतकका काका गोबिन्दले भने, ‘उता अस्पतालमै बितेको हो। अस्पतालबाट शव नउठुन्जेलसम्म यता किरिया बस्न पाइदैन रहेछ। उता सद्गद् गरेपछि यता किरिया बसेको हो।’
मृतक नरबहादुरले मेलेसियाको एक कम्पनीमा ४ वर्ष काम गरेर भर्खरै मात्र अर्को कम्पनी परिवर्तन गरेका रहेछन्। गोबिन्दले भने, ‘एउटा कम्पनी छोडेर अर्को कम्पनीमा काम गरेको ३/४ महिना भएको रहेछ । त्यसपछि कोरोना लागेछ अनि त्यही अस्पतालमै बित्यो।’
गोबिन्दका अनुसार अस्पतालमा उपचाररत हुँदा मृतक नरबहादुर दिनकै जसो श्रीमती, भाइहरुलगायत आफन्तसँग फोनमा कुराकानी गरिराख्थे । उनले भने, ‘मृतकको श्रीमती भाइहरुसँग अन्तिम अवस्थामासम्म कुराकानी भइराखेको थियो। उसलाई अरु कुनै रोग थिएन । उसँगसँगै कोरोना लागेका उसका साथीभाई ८/१० दिनमा निको भएर अस्पतालबाट कोठा फर्के, अब उसलाई बढ्दै गएर उतै बित्यो ।’
गोबिन्दका अनुसार मृतक नरबहादुरकी श्रीमती र दुई छोराछोरी काठमाडौंमा डेराको कोठामा बस्छन्। काठमाडौंमा छोराछोरी पढाउँदै आएकी मृतककी श्रीमती श्रीमानले मलेसियाबाट पठाएको पैसाले छोराछोरी पढाउनेदेखि सबै खर्च टार्दै आएकी रहेछिन्। अब भने नरबहादुरको मृत्युसँगै आउँदै गरेको गर्जो टार्ने आर्थिक खर्च बन्द भएको छ।
गोबिन्द भन्छन्, ‘श्रीमती काठमाडौंमा छोराछोरी पढाएर बसेकी थिइन, उसैले उताबाट खर्चहरु पठाइदिन्थ्यो । ११ वर्षकी छोरी र ९ वर्षका छोरा छन्।’
गोबिन्दका अनुसार मृतक नरबहादुरकै कमाईमा आश्रित परिवारलाई पहिला काम गरेको कम्पनीले भने केही आर्थिक सहयोग गर्ने भएको छ। उनले भने, ‘पुरानो कम्पनीले म केही आर्थिक सहयोग गर्छु भनेको छ रे त्यो पैसा आयो भने परिवारलाई केही खर्च हुन्छ । अब नयाँ कम्पनीमा त ३/४ महिना काम गरेको रहेछ, के सहयोग गर्ला र?’
मृतक नरबहादुर यसअघि पनि विदेश जाँदै आउदै गर्दा रहेछन् । उनी छोराछोरी पढाउनकै लागि विदेशमा कमाउन गएको बताउँदै गोबिन्दले भने, ‘पहिला पनि मलेसिया नै गएर आएर उ फेरि पछि गएको हो । गाउँमा आर्थिक अवस्था कमजोर नै हुन्छ, छोराछोरी पढाउनु पर्छ, विदेश जानु परिहाल्यो । गाउँमा आमा हुनुहुन्छ । बुबा बितिसकेका छन् । एउटी बहिनी विदेशमै छिन र दुई भाईहरु काठमाडौंमै बस्छन्।’
शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मलेसियाबाट ६ वटा र कतार एयरलाइन्सबाट कतार र साउदीबाट एक–एक गरी ८ वटा शव आएको थियो । त्यस्तै, बिहान विमानस्थलमा ८ वटा शव र ११ वटा अस्तु आएको थियो। |
अमेरिकामा छोरो मारिएकै ठाउँमा पुगेर सागरका पिताले गरे श्राद्ध (तस्वीरहरु सहित) मेरिल्याण्ड,अमेरिका । चार महिनाअघि अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोर क्षेत्रमा एका विहानै बन्दुकधारी व्यक्तिद्वारा अन्धाधुन्ध गोली प्रहार गर्ने क्रममा मारिएका आफ्ना छोराको मोक्ष प्राप्तिका लागि उनी मारिएकै स्थानमा पुगेर उनका पिताले श्राद्ध गरेका छन्।
हिन्दू नारीहरुको चाड तीजको ऋषि पञ्चमीका दिन नेपालको संखुवासभा जिल्लाको खांदबारी अस्पतालमा जन्मिएका सागर घिमिरेको पञ्चमासिक श्राद्ध त्यही ऋषि पञ्चमीकै दिन सेप्टेम्बर ११ तारिकमा उनका पिता जगतविक्रम घिमिरे र आफन्तहरुले उनी मारिएको ठाउँमै पुगेर सम्पन्न गरेका छन्।
मे ८ तारिक, २०२१ को दिन एकाविहानै साढे ६ बजेको आसपासमा ५६ बर्षजतिका एभरटन ब्राउन भन्ने व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गरेर बाल्टिमोरको उडलन कम्प्लेक्स क्षेत्रमा चारजनाको हत्या गरेका थिए। तिनै चारजनामध्येमा एक परेका थिए सागर घिमिरे ।
“आफ्ना छोराको जहाँ रगत बगेको हो त्यही ठाउँमा आएर आज ५ महिनाको मासिक श्राद्ध कर्म गरेको छु”, सागरका पिता जगतविक्रमले डिसी नेपालसंग भने, “रगत भिजेको ठाउँमा आएर वैदिक परम्पराअनुसार मेरो छोरोको स्वर्गको वासको कामना गरेँ। तर, अमेरिकी सरकार र प्रशासनसमक्ष मेरा धेरै प्रश्न छन् र अनुरोध छ अव आइन्दा कुनै पनि व्यक्तिले मेरो छोरोको जस्तो नियति भोग्न नपरोस्।”
चारजनाको हत्यापछि स्थानीय प्रहरीद्वारा मारिएका ब्राउनलाई पछि मानसिक रोगी भएको भनिएको थियो। ब्राउनले आफ्नै घरमा आगो लगाई छिमेक तिर स्वचालित हतियारले अन्धाधुन्ध गोली प्रहार गरेका थिए। सो घटनामा परी मृत्यु भएका घिमिरे उडलन कम्प्लेक्समा एकजना नेपालीको घरमा डेला लिई एकहप्ताअघि मात्र सरेका थिए।
एकाविहानै बड्याङबुडुङको आवाजले शुरुमा भूईचालो आयो भनेर घरबाट निस्किएका २४ बर्षिय घिमिरेलाई घर अगाडिको पार्किंगस्थलमा गोली लागेको र उनको त्यहीं मृत्यु भएको थियो। घिमिरेसँगै बस्दै आएका अर्का एक नेपाली युवालाई पनि गोली लागेको थियो तर उनी भने बाँच्न सफल भएका थिए।
“मृत आत्माले विधिपूर्वक संस्कार पाएन भने उसको आत्मा घुमि नै रहन्छ भन्ने मैंले महसुस गरेको छु” पिता जगतविक्रमले मारिएकै स्थानमा आएर श्राद्ध तर्पण गर्नुको कारण खुलाउंदै भने, “उसलाई यहाँ श्रद्धाञ्जली अर्पण गरेपछि उसको आत्माको शान्तिको कामना विधिपूर्वक गरेपछि आफूले पनि शान्ति महसुस गरेको छु।”
“मृत आत्माले विधिपूर्वक संस्कार पाएन भने उसको आत्मा घुमि नै रहन्छ भन्ने मैंले महसुस गरेको छु” पिता जगतविक्रमले मारिएकै स्थानमा आएर श्राद्ध तर्पण गर्नुको कारण खुलाउंदै भने, “उसलाई यहाँ श्रद्धाञ्जली अर्पण गरेपछि उसको आत्माको शान्तिको कामना विधिपूर्वक गरेपछि आफूले पनि शान्ति महसुस गरेको छु।”
साउथ क्यारोलिनाको एउटा विश्वविद्यालयबाट उच्च अंकसहित ग्रजुयेट भएको केही दिनमा सागर र उनका साथी बाल्टिमोर आएका थिए। नेपालमा रहँदा पनि मेधावी विद्यार्थी रहेका सागर युथ एसियाको टप सेभेन डिबेटर थिए भने तत्कालीन राष्टपति डा.रामबरण यादवको हातबाट दुई वटा स्वर्णपदक पनि प्राप्त गरेका थिए।
आफ्नो छोरोको पार्थिव शरीर त उनले देख्न पाएनन्। घटनाको समयमा कोरोनाको महामारी पनि उत्तिकै थियो र दुबैतिर लकडाउनको स्थिति पनि थियो। सागरको हत्यापछि पोष्टमार्टमको प्रक्रिया र अन्तिम संस्कारको प्रक्रियासमेत पूरा गर्न झण्डै १ महिना लागेको थियो। “एक महिनासम्म उसको आत्मा वाकसमा रह्यो त्यो झन् दुखदायी थियो।
पार्थिव शरीर छुन नपाए पनि आज घटनास्थलमै आएर विधिपूर्वक श्राद्ध गरेको छु अव उसको अस्तुलाई आर्यघाटमा लगेर जलाउने र सेलाउने इच्छा छ, सागरका पिताले भने, “सागर स्मृति कोष खोल्ने भित्री इच्छा छ हेरौं के हुन्छ।”
मानसिक रोगी भनिएका हत्याराको हातमा स्वचालित बन्दुक कसरी पुग्यो? यसमा कमी कमजोरी कस्को हो? मानसिक रोगी थियो भने घटना घट्नु अघि हतियार भए नभएको किन निगरानी गरिएन? जस्ता थुप्रै प्रश्नहरु अमेरिकी सरकार र प्रशासनसमक्ष गर्न उनलाई मन लागेको छ। आफूले मात्र होइन नेपाल देशले मात्र होइन, पूरै विश्वले एउटा अत्यन्त प्रतिभाशाली युवा गुमाएको अवस्थामा अव यस्ता दर्दनाक घटनाहरु अरु नदोहोरिउन् भन्नका लागि उनले अमेरिकी सरकारसँग यी प्रश्नहरु राख्न चाहेको बताएका छन्।
मृतकको आत्म शान्तिका लागि मात्र नभई बाँच्नेहरुका लागि पनि यी प्रश्नहरुको उत्तर आउनु जरुरी छ भन्ने सागरका पितालाई लागेको छ। “सगरमाथाको छहारी र बुद्धको भूमिका जन्मेका सागर अमेरिकी नागरिकको हातबाट मृत्युबरण गर्न पुगे। यस्तो कसैले भोग्नु नपरोस्”, सागरका पिताले भने। युवाहरुका मार्गदर्शक बनिसकेका सागरको सपना पूरा गर्न हजारौं सागर जन्मिउन् र सागरको सपना पूरा गरुन् भन्ने आफूलाई लागेको पनि उनले बताए।
घटनास्थलमै पुगेर स्वर्गीय आत्माप्रति वैदिक विधिपूर्वक श्रद्धाञ्जली व्यक्त गर्न सागरका पिताका साथमा सागरकी दिदी कृपा घिमिरे, काका कप्तान घिमिरे र काकाका छोरा भाइ करन घिमिरे पनि बाल्टिमोर आइपुगेका छन्। उनीहरुलाई स्थानीय नेपाली समुदायले सहयोग गरेको छ। मेरिल्याण्ड विधानसभामा निर्वाचित एकमात्र नेपाली मुलका अमेरिकी जनप्रतिनिधि डेलिगेट ह्यारी भण्डारीको सहयोगले यहाँका प्रहरी प्रमुख र एटर्नी जनरलसँग सागरका पिताले कुरा गरेका छन्।
र, हत्याबारेको रिपोर्ट माग पनि गरेका छन्। काका कप्तान घिमिरेका अनुसार, डेलिगेट भण्डारीले राम्रो सहयोग गर्नु भएको छ भने अन्य नेपाली समुदायको सहयोग पनि अत्यन्तै राम्रो छ। “घटनापछि दाइको नेपालदेखिकै इच्छा घटनास्थल पुगेर आफ्नै हातबाट आफ्नै संस्कारबमोजिम पूजा गर्ने थियो” अमेरिकाको क्यालिफोर्नियामा बसोबास गर्ने कप्तानले भने, “उहाँलाई यहाँ ल्याएर त्यो पूरा गराउन पाएँ।” |
एनआरएनए आईसीसी निर्वाचनमा मतदानसम्बन्धी सिष्टममै कम्युनिष्टहरुबाट धाँधलीको आशंका, विज्ञ परीक्षण गर्न माग काठमाडौं । विश्वभरका गैरआवासीय नेपालीहरुलाई गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए, आईसीसी)को चुनाव लागिरहेका बेला अध्यक्षका एकजना प्रत्यासीले अनलाइन भोटिङको विश्वसनीयतामा प्रश्न उठाएका छन्।
अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेका बेलायतबासी कुल आचार्यले अनलाइन भोटिङ सिष्टमबारे स्वतन्त्र विज्ञ नियुक्त गरेर परीक्षण गराउनु पर्ने र हालसम्म गरिएका विवादास्पद भोटिङको छानविन गर्नुपर्ने माग राखेका छन्।
उनले आईसीसी अध्यक्ष कुमार पन्तलाई एक पत्र लेख्दै सो माग गरेका हुन्। एनआरएनए आईसीसीमा यसपटकको निर्वाचनमा पूर्वकम्युनिष्टहरुको समूह र पूर्व नेपाली कांग्रेससमबद्ध समूहकाबीच प्रतिष्पर्धा हुँदै छ। उजुरकर्ता नेपाली कांग्रेससम्बद्ध प्रवासी नेपालीहरुको संगठनको जनसम्पर्क समितिका तर्फबाट अध्यक्ष पदका आधिकारिक उम्मेद्वार हुन्।
अनलाइन भोटिङका लागि तयार गरिएको एमआईएस सिष्टममा उनले प्रश्न उठाएका हुन्। यो सिस्टम तयार गर्ने कार्यको नेतृत्व हाल आईसीसी सचिव रहेका गौरीराज जोशीले गरेका थिए। जोशी अमेरिकामा आईटीसम्बन्धी व्यापार गर्छन्। र आफैं पनि उम्मेद्वार बनेका छन्।
जोशी गैरकांग्रेसी समूहका तर्फबाट उम्मेद्वार भएकाले र उनको नेतृत्वमा बनेको सिष्टम अपरेटरले दुरुपयोग गर्न सक्ने प्राविधिक छिद्र देखापरेकाले सोही प्राविधिक छिद्रका माध्यमबाट निर्वाचनमा धाँधली हुन सक्ने भन्दै त्यसबारे स्वतन्त्र परीक्षण र अनुगमनको माग गरिएको बताइएको छ।
जोशी नेतृत्वमा बनेको एमआईएस सिष्टमले जापान लगायतका देशमा व्यापक धाँधली भएको र त्यहाँ वामपक्षीय उम्मेद्वारहरुलाई जवर्जस्ती जिताइएको आरोप लोकतान्त्रिक समूहले लगाउंदै आएको छ र यो प्रकरण अहिले नेपालको परराष्ट मन्त्रालयमा उजुरीको तहमा पुगेको छ।
जापानको धाँधलीले जोशी नेतृत्वको आईटी सिष्टमप्रति अविश्वास बढाएपछि अध्यक्षका प्रत्यासी आचार्यले त्यसको निश्पक्षतामा प्रश्न उठाएका हुन्। डिसी नेपाललाई प्राप्त आचार्यले अध्यक्ष पन्तलाई लेखेको पत्रमा निश्पक्ष आइटी विज्ञलाई सिष्टमको प्राविधिक समूहमा सहभागी गराउन माग गरिएको छ।
त्यसैगरी सो सिष्टमको प्रयोग गरी हालसम्म भएका गरिएका कामहरु सार्वजानिक गर्न, आईसीसी निर्वाचनका लागि प्रतिनिधि छनौटको निर्वाचन सकेपछि पनि एमआईएस सिष्टममा नयाँ नामहरु धेरै थप गरेकोबारे यकिन विवरण सार्वजानिक गर्न, डेलिगेट छनौटको भेरिफिकेसन गर्न एनसीसीका प्रतिनिधि र आईटी विवज्ञको भेरिफिकेसन टोली गठन गर्न पनि माग गरिएको छ। |
एनआरएनए युरोप उप संयोजकमा पत्रकार सुवेदीको उम्मेदवारी घोषणा जर्मनी । एनआरएनएको युरोप क्षेत्रिय उपसंयोजकमा अष्ट्रियाबाट सक्रिय पत्रकार सागर सुवेदीले उम्मेदवारी घोषणा गरेका छन् । पर्वतको कुश्मा घर भइ बर्षौदेदी अष्ट्रियामा रहेर पत्रकारिता क्षेत्रमा समेत सक्रिय रहेका सुवेदीले एनआरएनएको आगामी कार्यकाल २०२१–२०२३ का लागि युरोप उपसंयोजकमा उम्मेदवारी घोषणा गरेका हुन् ।
अष्ट्रियामा रहेर एनआरएनएमार्फत् सक्रिय रुपमा सामाजिक क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका सुवेदीले एनआरएनए अष्ट्रियाको दुई कार्यकाल सचिव भएर काम गरिसकेका छन् । विभिन्न बिकृति विरुद्ध बिना संकोच बर्षौ देखि कलम चलाउदै आएका सुबेदी, सामान्यता नेपाली राजनीतिका बिषयमा घोचेरै कलम चलाउनेमा पर्दछन । आफुले बुझेका बिषयलाई साधारण शब्दमा सबैले बुझ्ने गरी कलम चलाउने सुबेदी गैर आबासीय नेपाली संघको युरोप क्षेत्रमा एक शसक्त उम्मेदवारका रुपमा आफु खडा भएको दावी गर्छन । संघमा सन् २०१० देखि नै जोडिएर काम गर्दै आएका उनी संघलाई अहिले जसरी चलाउन खोजिएको छ त्यसरी चलाइरहदा यसको भबिष्य सङ्कटमा पर्न सक्ने धारणा राख्छन ।
विभिन्न प्यानल बनाएर उम्मेदवारहरु चुनावी मैदानमा होमिएका भएपनि आफू संस्थागत विकासका पक्षमा उभिएकाले आफू सबैको साझा भएको बताउँछन् । सुबेदी भन्छन ’’ यहि गुट र प्यानलका कारण नेपालका राजनीतिक पार्टीभित्रको हालत आज छरपस्ट हुने गरी बिग्रेको छ । नेपालको सत्ता समीकरण जस्तो बन्छ, यता पनि त्यसैको प्रभाब बन्दा संघ संघको रुपमा काम गर्न नसकेको साथै नेपालको नेताहरुको आशिर्बाद बाट नेता बन्न सकिन्छ भन्ने मनोभावना संघ भित्र बढ्दै गैरहेकोमा मेरो चिन्ता छ ।’’ संस्थाको गरिमा उच्च राख्न तटस्थताबादमा कुनै सम्झौता नगर्ने भन्दै उनले संघ रुपान्तरणका पक्षमा सशक्त बनेर सकभर अधिक नेपालीको प्रतिनिधित्व हुने गरी संघलाई नै केन्द्रमा राखेर काम इच्छा रहेको बताए । संस्थाभित्र रहँदा होस् वा बाहिर रहेर विदेशमा रहने नेपालीको सुख दुःखमा सदैव साथ र सहयोग गर्दै आएका सुवेदीले गैरआबासीय नेपाली संघको रुपान्तरण अहिलेको प्रमुख मुद्दा रहेको बताउँदै गर्न नसक्ने विषयमा मतदाताका अगाडि बोल्ड नारा दिनुभन्दा गर्न सकिने विषयलाई उठाउनु राम्रो हुने आफ्नो मान्यता रहेको बताउँछन् । |
स्थानीय तहबाटै कन्सुलर सेवा विस्तार गरिने काठमाडौं । परराष्ट्र मन्त्रालयअन्तर्गत कन्सुलर सेवा विभागले अध्ययन र श्रमलगायत विभिन्न पेसा तथा व्यवसाय गरी विदेशमा रहेका नेपाली नागरिकका लागि आवश्यक कागजात विश्वसनीय, सरल र छिटोछरितो तुल्याउन स्थानीय तहसँग सहकार्य गर्ने जनाएको छ । सेवा प्रवाहलाई बढी प्रभावकारी तुल्याउन विभागले स्थानीय तहसँग सहकार्य गर्ने जनाएको हो ।
काठमाडौँ जिल्लाका महानगरपालिका तथा नगरपालिकाका प्रमुख, उपप्रमुख एवं कार्यकारी निर्देशकका लागि विभागले आज(शुक्रबार) आयोजना गरेको ‘अभिमुखीकरण कार्यक्रम’मा विदेशमा रहेका नेपालीलाई परेको समस्या समाधान गर्न कागजपत्र जुटाउन सहजताका लागि हरेक स्थानीयवासीलाई अनलाइन प्रणालीमा जोड्ने तयारी भइरहेको जानकारी दियो ।
सो अवसरमा परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालले विभिन्न प्रयोजनमा विदेश जाने क्रम बढेसँगै कागजातका कारण विभिन्न समस्या बढ्दै गएको अवस्थामा स्थानीय तहबाट नै कागजातहरुको प्रमाणीकरणको सुनिश्चित गर्न सकिएमा सर्वसाधारणलाई ठूलो राहत पुग्ने बताए । उनले विदेशमा रहेका नेपाली नागरिकसँग जोडिएका घटना र समस्याको छिटोछरितो तथा सरल रुपमा सम्बोधन गर्नका लागि नै विभागले स्थानीय सरकारसँगको सहकार्यलाई अगाडि बढाएको स्पष्ट गरे ।
विभागका महानिर्देशक धनबहादुर वलीले सङ्घीयताको मर्म एवं भावनानुरुप जनतासँग प्रत्यक्ष रुपमा जोडिएका र विदेशमा जाने नेपालीलाई विभिन्न प्रयोजनका लागि प्रमाणित गर्नुपर्ने आवश्यक कागजातको अनलाइनको माध्यमबाट प्रमाणीकरणमा जोड दिइएको बताए ।
कोरोना र बजेटलगायत कारण एकैसाथ ७५३ स्थानीय तहमा पुग्न कठिन भएकाले सबैभन्दा धेरै विदेश जाने जिल्ला र स्थानीय तह पहिचान गरिएका पालिकासँग सहकार्य गर्ने र आगामी दुई वर्षभित्र सबै तहमा पुग्ने लक्ष्य लिइएको जानकारी दिए ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक जीतेन्द्र बस्नेतले डिजिटल नेपाल फ्रेमवर्कभित्र रहेर व्यक्तिगत घटनाका कागजातहरु अनलाइन विधिमार्फत दर्तादेखि प्रामाणीकरणका कार्यहरु सम्पादन गर्न सकिएमा सेवाग्राहीहरुलाई छिटोछरितो सेवा प्रवाह गर्न र झट्टा विवरण पेस गर्ने प्रवृत्तिलाई अन्त्य गर्न सकिने बताए ।
उनले व्यक्तिगत घटनादेखि नागरिकका अत्यावश्यक कागजातलाई व्यवस्थित गर्न राष्ट्रिय परिचयपत्रलगायत अन्य प्रमाणपत्र अनलाइन प्रविधिबाटै प्रदान गर्न सकिने भएकाले स्थानीय तहहरुको क्षमता अभिवृद्धि र सूचना प्रवाहलाई विस्तार गर्नुपर्नेमा जोड दिए ।
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौँ उपत्यकामा देशका विभिन्न जिल्लाबाट बसाइँ सरेर आउनेको सङ्ख्या धेरै रहेकाले उनीहरुका मागअनुसार कतिपय कागजात तयार र प्रमाणीकरण गर्न कानूनी र व्यावहारिक कठिनाइ भएको बताए ।
कन्सुलर सेवा विभागका निर्देशक प्रकाश अधिकारीले अध्ययन र श्रमलगायत विभिन्न पेसा तथा व्यवसायका क्रममा विदेशमा गई अलपत्र परेका, उपचार गर्न आवश्यक भएका, शव ल्याउनुपर्ने अवस्थाका, क्षतिपूर्ति, मुद्दा लड्ने काम र खोजतलासलगायत कन्सुलरसम्बन्धी सम्पूर्ण काम ठीक ढङ्गले अघि बढाउन स्थानीय तहसँग सहकार्य गर्नु जरुरी भएको उल्लेख गर्दै यसका लागि यस किसिमको अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको र यसलाई देशका अन्य स्थानीय तहमा पनि सञ्चालन गरिने बताए ।
विदेशमा स्थानीय कानुनअनुसार आवश्यक कागजात तयार गरी प्रस्तुत गर्नुपर्ने भएकाले तयार गर्ने क्रममा कमजोरी र त्रुटि नहोस् भन्नका लागि सम्पर्क/सञ्चार स्थापित गरी सहकार्यको खाँचोमा कार्यक्रमका सहभागीहरुले जोड दिए । स्थानीय सरकारले विवाह, जन्मदर्ता, नाता प्रमाणितलगायत सबै कागजात जारी गर्ने र कन्सुलर विभागका कुनै पनि शाखा, एकाइ स्थानीय तहमा नहुँदा केन्द्रमा नै धाउनुपर्ने र अनेक झन्झट व्यहोर्नुपर्ने अवस्था रहेको छ ।
स्थानीय तहसँगको सहकार्यमा विदेशमा लाखौँको सङ्ख्यामा अध्ययन, रोजगारीलगायत विभिन्न पेसा व्यवसायमा रहेकालाई कुनै समस्या परेका खण्डमा रहे बसेकै ठाउँबाट निवेदन दिन सकिने सुविधासहित विभागले कार्यारम्भ गरिसकेको छ ।
विदेशमा परिवारलाई झिकाउन परेमा, अलपत्र परेमा, घाइते भएमा, अरू कुनै समस्या परेमा उद्धार गर्न, खोजतलास, उपचार र हकहित रक्षाका लागि मात्र होइन, विदेशमा रोजगारीमा जाँदा सर्वसाधारण जनतालाई आवश्यक पर्ने कागजात पनि विभागले प्रमाणित गर्दै आएको छ । रासस |
कुवेत विमानस्थलमा बालुवाको ढिस्कोले पुरिएर झापाका दुई युवाको मृत्यु काठमाडौं । कुवेतको निर्मणाधिन विमानस्थलमा काम गर्दै गर्दा दुई जना नेपाली कामदारको मृत्यु भएको छ । रोजगारीको क्रममा कुवेतको निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनल २ को करिब ६ मिटर गहिरो खाल्डोमा भूमिगत पाइप मर्मत गर्ने क्रममा माथिबाट बालुवाको ढिस्को खसी झापाका दुई युवाको गत बुधबार मृत्यु भएको हो ।
मृत्यु हुनेमा झापाको गोलधाप–१ र चकचकी–६ का क्रमशः यम बहादुर कटुवाल र सुकलाल राजवंशीको घटनास्थलमै मृत्यु भएको हो । उनीहरुसँगै काम गरिरहेका मिझिङ–८ धनमुढा, रोल्पा निवासी सर्वजित महरा सख्त घाइते भएका छन् । उनको उपचार भइराखेको छ ।
|
एमसीसीका उपाध्यक्ष र नायब उपाध्यक्ष भोलि नेपाल आउँदै काठमाडौं। अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)उपाध्यक्ष फतेमा सुमार र नायब उपाध्यक्ष जोनाथन ब्रुक्स नेपालको चारदिने भ्रमणमा बिहीबार बिहान कतारबाट काठमाडौँ आउँदैछन् ।
एमसीसी परियोजना कार्यान्वयन भएका देशहरुमा वार्षिक रुपमा कार्यान्वयनको अवस्था बुझ्ने क्रममा उनीहरु नेपाल आउन लागेको हुन् । नेपाल भ्रमणमा रहँदा उनीहरुले एमसीसी परियोजना कार्यान्वयनको अवस्थाबारे विभिन्न पक्षहरुसँग कुराकानी गर्ने स्रोतले बताएको छ । उनीहरुले एमसीसी हेडक्वाटरमा विशेष गरी गरीबी निवारणका लागि लक्षित परियोजनाहरुको सुपरीवेक्षण गर्नेछन् ।
उनीहरुले प्रधानमन्त्री शेरबहादुर देउवालगायत विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुसँग समेत भेटघाट गर्ने कार्यक्रम रहेको छ । राजनीतिक खिचातानिका कारण सन् २०१९ मा नै कार्यान्वयनमा आउनुपर्ने एमसीसी परियोजना अझै अगाडि बढ्न सकेको छैन । नेपालको गरिबी घटाउन तथा दिगो सामाजिक–आर्थिक विकासका लागि चार वर्षअघि भदौमा नेपाल सरकार र अमेरिकाको सरकारी निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसिसीबीच मिलेनियम च्यालेञ्ज सम्झौतामा द्विपक्षीय सम्झौता भएपछि एमसिसीबाट यो तहमा पहिलोपटक भएको भ्रमणलाई चासो र महत्वका साथ हेरिएको छ।
सडक सञ्जाल, विद्युत् प्रसारण लाइन निर्माणलगायत नेपालको भौतिक पूर्वाधार विकासका आयोजना कार्यान्वयनका निम्ति अनुदानस्वरूप अमेरिकाबाट प्राप्त हुने रु ५० अर्ब सहयोगलाई लिएर राजनीतिक वृत्तका साथै जनस्तरमा मतान्तर रहेका बेला हुन लागेको यो भ्रमणलाई चासोका साथ हेरिएको हो। |
अफगानिस्तानबाट हालसम्म ८९५ नेपालीको उद्धार काठमाडौँ । अफगानिस्तानबाट नेपालीलाई यथाशक्य चाँडो उद्धार गरी स्वदेश फर्काउन क्रम जारी रहेको छ ।
काबुलमा उद्धार उडानको प्रतीक्षामा रहेकाहरूलाई स्वदेश फर्काउन सम्बन्धित निकायसँग समन्वय भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । काबुलमा रहेका सबैसँग सरकार नियमित सम्पर्कमा रहेको पनि उक्त मन्त्रालयले बताएको छ ।अफगानिस्तानबाट बुधवार कतार एयरको दोहा–काठमाडौं नियमित उडानबाट ३२ जना स्वदेश फर्केका छन् ।
हालसम्म ८९५ जना नेपाली काठमाडौं आइपुगेका तथा उद्धार गरिएकाहरू अन्य उडानबाट स्वदेश आउनेक्रम जारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । काठमाडौं आइपुगेकालाई अध्यागमनलगायत प्रक्रिया पूरा गरी कोभिड संकट व्यवस्थापन केन्द्रको समन्वयमा सामाखुसीस्थित सरकारले व्यवस्थापन गरेको ‘होल्डिङ सेन्टर’मा स्वास्थ्य मापदण्डअनुसार कोभिड–१९ को परीक्षणलगायत प्रक्रियागत काम सम्पन्न गरी आवश्यक व्यवस्थापन भएको मन्त्रालयले बताएको छ ।
अफगानिस्तानमा फसेका नेपाली नागरिकलाई सकुशल स्वदेश फिर्तीको व्यवस्था प्रभावकारी तुल्याउन सरकारले मन्त्रालयका मध्य एशिया, पश्चिम एशिया तथा अफ्रिका महाशाखाका प्रमुख हरिशचन्द्र घिमिरेको संयोजकत्वमा गठन गरेको उद्धार कार्यदलका अनुसार उद्धारमा सहजताका लागि कन्सुलर सेवा विभागको वेबसाइटमा रहेको अनलाइन पोर्टलमा दर्ता भएका, नेपाली राजदूतावास नयाँदिल्लीबाट प्राप्त विवरण तथा ‘सिचुएसन सेन्टर’मा नाम टिपाएका नेपालीलाई सम्पर्क गरी उनीहरू हाल रहेको स्थानअनुसार समूह सूची तयार गरेर काबुलबाट उद्धार उडान गरिरहेका मित्र राष्ट्रहरूलाई उपलब्ध गराई उनीहरूको उद्धारमा आवश्यक सहकार्य र समन्वय भइरहेको छ । |
पाँच बुँदे प्रतिबद्धता सहित एनआरएनए मध्यपूर्व क्षेत्रिय संयोजकमा राजेन्द्र अर्यालको उम्मेदवारी घोषणा साउदी- गैरआवासीय नेपाली संघ (एनआरएनए)को मध्यपूर्व क्षेत्रीय संयोजकमा साउदी अरबबाट राजेन्द्र अर्यालले उम्मेदवारी घोषणा गरेका छन् ।
वर्तमान कार्यसमितिमा मध्यपूर्व क्षेत्रीय उप-संयोजकको जिम्मेवारी निर्वाह गरेका अर्यालले संघको अक्टोबरमा हुने २०२१–२०२३ कार्यकालको चुनावको लागि मध्यपूर्व संयोजकमा उम्मेदवारी घोषणा गरेका हुन् ।
मध्यपूर्वको साउदी अरबलाई कर्मथलो बनाउँदै आएका राजेन्द्र अर्याल (जोन)ले यसै शिलशिलामा २१/२३ का लागी क्षेत्रिय संयोजकमा आफ्नो उम्मेदवारी सामाजिक संजाल फेसबुक मार्फत घोषणा गरेका छन्। २०११ देखी एनआरएनएमा लागेका अर्याल सफल व्यवसायीका साथै सामाजिक कार्यमा निरन्तर लागी परेका एक अब्बल समाज सेवीका रूपमा परिचित छन्। उनले गैर आवासीय नेपाली संघका १५/१७ मा राष्ट्रीय समन्वय परिषद सदस्य, १७/१९ आईसीसी सदस्य, १९/२१ आईसीसी क्षेत्रिय सहसंयोजकको भूमिका निर्वाह गरिसकेका छन्।
क्षेत्रिय संयोजकका प्रत्याशी अर्यालले आफ्नो उम्मेदवारीको घोषणा संगै ५ बूँदे प्रतिबद्धता पनि जारी गरेका छन्।
प्रतिबद्धता पत्र:
१.राहत र उद्दार कार्यमा सदैव तत्पर रहनेछु ।
२.बैदेशिकरोजगारऎन२०६४लाई पुर्णरूपमाकार्यान्वयन गर्नरगराउन सरोकारवालाहरूसँग पहल गर्नेछु ।
३.एनआरएनएद्वारा संचालित परियोजनामा मध्यपूर्बका आप्रबासिहरूलाइ लगानि गर्न प्राथमिकताका आधारमा सुअबसर प्रदान गर्न पहल गर्नेछु ।
४.अन्य सामाजिक संघरसंस्थासँग मिलेर सहकार्य गर्नेछु ।
५.अन्तराष्ट्रिय समन्वय परिषद र मध्यपूर्बका एनसिसिसँग सहकार्य गरेर कार्य योजना बनाइ कार्यदिशा तय गर्नेछु । |
इजरायल रोजगारी : तोकियो अंग्रेजी भाषाको परिक्षा केन्द्र(सूचीसहित) काठमाडौं । इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा इजरायल पठाउने नेपाली सहायक कामदार छनौट गर्न अंग्रेजी भाषा परीक्षा संचालनको लागि परीक्षा केन्द्रहरु तोकिएको छ । वैदेशिक रोजगार विभागले एक सूचानामार्फत काठमाडौं उपत्यकाका विभिन्न स्कुल र कलेजहरुमा परीक्षा केन्द्र तोकिएको सूची प्रकाशित गरेको छ ।
वैदेशिक रोजगारीका लागि इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा जान आवेदन दिएका ९ हजार ६ सय ९९ जनाको आवेदन रुजु गर्ने काम अन्तिम चरणमा पुगेको विभागले जनाएको छ । आवेदन छनौटको काम अन्तिम चरणमा पुगेसँगै विभागले स्वीकृत आवेदकहरुको लागि परिक्षा केन्द्रहरु तोकेको हो ।
भाषा पास गरेपछि रोजगारीका लागि इजरायल जाने सतप्रतिशत ग्यारेन्टीसमेत नहुने विभागले जनाएको छ । भाषा पास गरेकामध्ये चार सय जनाले भने इजरायल जान नपाउने विभागले यसअघि नै बताइसकेको छ ।
२८ भदौमा सञ्चालन हुने अंग्रेजी भाषाको लिखित परीक्षाबाट करिब एक हजार ६ सय जना उत्तीर्ण हुने बताइएको छ । उनीहरू मौखिक परीक्षामा सहभागी हुने र त्यसबाट एक हजार चार सय जनाको अन्तिम नामावाली सार्वजनिक गरिने जनाइएको छ । त्यसमध्येबाट ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष गरी एक हजार जनाले रोजगारीका लागि इजरायल जान पाउने छन् ।
एक हजार जनाको कोटा निर्धारण गरेर माग भएको आवेदनमा नौ हजार छ सय ९९ जनाको आवेदन परेको छ । त्यसमध्ये चार हजार दुई सय महिला र पाँच हजार चार सय ९९ जना पुरुष रहेको विभागले जनाएको छ ।
रोजगारीका लागि इजरायल जानका लागि १ लाख ६५ हजार लागत लाग्ने विभागले पहिल्यै खुलाइसकेको छ । उक्त रोजगारीबाट श्रमिकले मासिक करिब एक हजार ६ सय अमेरिकी डलर आम्दानी गर्न सक्ने छन् ।
चार वर्षसम्म करार अवधि थप गर्न सक्ने विकल्पसहित सुरुमा एक वर्षको करार सम्झौता गरिने विभागले जनाएको छ । र, पाँचौं वर्षमा भने अनिवार्य स्वदेश फर्कनै पर्ने, अन्यथा गैरकानुनी ठहर हुने सम्झौतामा उल्लेख छ ।
|
कुवेत सबै प्रकारका भिसा खुलाउने तयारीमा काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण बन्द भएका सबै प्रकारका भिसा कुवेतले आगामी अक्टोबरदेखि खुला गर्ने भएको छ । लामो समयपछि भिजिट भिसा खुला गर्ने तयारी गरेको कुवेतले सबै प्रकारका भिसा खुला गर्ने तयारी गर्न लागेको हो ।
कुवेतको आन्तरिक मन्त्रालयका अनुसार कुवेतले पारिवारिक, व्यापारिक र यात्रा प्रयोजनका लागि भिजिट भिसा जारी गर्दै आएको छ । त्यहाँको सञ्चार माध्यमका अनुसार विभिन्न देशसँग सिधा हवाई उडान शुरु गरेको कुवेतले आगामी अक्टोबर सुरुदेखि भिजिट भिसा खुला गर्ने बताइसकेको छ ।
कुवेतले आफ्नो मुलुकमा कोराना भाइरस संक्रमण दर घटेको र खोप पनि पर्याप्त भएको भन्दै भिजिट भिसा खुला गर्न लागेको जनाइएको छ । हाल कुवेतमा निर्माण सल्लाहकार, ईन्जिनियर, प्राविधिक, शिक्षकलगायतका माग अत्यधिक बढेको बताइएको छ । |
नेपाली–अमेरिकन कलाकार सङ्घको अध्यक्षमा सुनुवार काठमाडौं । नेपाली–अमेरिकन कलाकार सङ्घको अध्यक्षमा निशा सुनुवार निर्वाचित भएकी छिन् । सङ्घको मङ्गलबार सम्पन्न चौथो अधिवेशनबाट सुनुवारको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो।
सङ्घको वरिष्ठ उपाध्यक्षमा वसन्ती राई, उपाध्यक्षमा विमल डाँगी, विक्की पुलामी, ऐटना कार्की, राजेन्द्र राई, महासचिवमा सङ्गीता थापा, सचिवमा मधुकुमार गिरी, कोषाध्यक्षअख पुष्कर बराल, सहकोषाध्यक्षअख पूजा न्यौपाने र युथ कोर्डिनेटरमा दिलीपकुमार श्रीष निर्वाचित भएकाे प्रमुख निर्वाचन अधिकृत सोमनाथ घिमिरेले जानकारी दिए।
यस्तै बोर्ड सदस्यमा चिनियालाल श्रेष्ठ, बुद्धिमान घिसिङ, पुष्पा बस्नेत, नवीन श्रेष्ठ र माया राई निर्विरोध निर्वाचित भएका छन्। उक्त कार्यक्रममा महावाणिज्यदूत विष्णुप्रसाद गौतमले नेपाली कला क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरसम्म फैलाउनका लागि नेपाली अमेरिकन कलाकार सङ्घले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा सङ्घका प्रमुख संरक्षक अभय ढुङ्गेल, वरिष्ठ कलाकार डा महेशराज ठाकुर, न्हुच्छेनारायण डङ्गोल, नरबहादुर दाहाल, आङ गेलु शेर्पा, गोमा योन्जन गुरुङ, नरवीर गुरुङ, सन्जोक लामा योन्जन, नायक विक्रान्त बस्नेत, पत्रकार दिवाकर बागचन्दलगायतको उपस्थिति रहेको थियो। |
अमेरीकामा कलाकारहरुको अधिवेशन सम्पन्न न्यूयोर्क । उत्तर अमेरीकामा रहेका नेपाली कलाकारहरुको संस्था नेपाली अमेरीकन कलाकार संघको साधारण सभा तथा ५ औ महाधिवेशन सम्पन्न भएको छ।
न्युयोर्कको क्विन्समा हिजो सम्पन भएको महधिवेशनले आगामी नयाँ कार्यसमिति अनेक बाधा बिरोध र अड्चनका बाबजुत पनि निर्विरोध चयन गरेको छ । नयाँ अध्यक्षमा लोक गायिका निसा सुनार निर्विरोध निर्वाचित भएका छिन। हिजो न्यूयोर्कमा सम्पन्न संघको अधिबशन बाट निसा सुनार अध्यक्षमा सर्वसम्मत रुपमा अध्यक्ष चयन भएकी हुन् । यो कार्य समितिको कार्यकाल २ बर्षको रहने समितिले जनाएको छ ।
१७ संदसिय कार्यसमितीमा प्रमुख संरक्षक अभए ढुङ्गेल सहित सम्पूर्ण पदमा सर्वसम्मत नेतृत्व चयन भएका छन् । ३ जनाको निर्वाचन समिति रहेको निर्वाचन समितीमा समाजसेवी जिपिके फाउन्डेशनका अध्यक्ष सोमनाथ घिमिरे , तमु परीवारका अध्यक्ष मनिता गुरुङ, समाजसेवी बिष्णु राना मगर थिए । निर्वाचन प्रमुख सोमनाथ घिमिरेले सम्पूर्ण पदको लागी उमेद्वार दर्ता गर्न ३० मिनेट र उमेद्वारी दिन र फिर्ता गर्न दिईएको समय ५ मिनेटको समयमा सबै पदहरुको लागी पद सँख्या बराबर मात्रा उमेद्वारी परेको हुँदा उमेद्वारी दिनुहुने सबैजना निर्विरोध तथा स सम्मातित रुपमा विजयी भएको घोषणा गरेका थिए ।
कार्यक्रमका प्रमुख अथिति न्युयोर्कका कार्यवहाक महाबाणिज्यदुत बिष्णु प्रसाद गौतम तथा बिशेष अथिति फिप्नाका अध्यक्ष लोक चेम्जोङ, पर्यवेक्षक केशबराम राईको संम्योजकत्वमा समाजसेवी नवराज केसी गोमा योन्जन , सुमन टि लिम्बु रहेका थिए । सोहि अबशरमा नब निर्वाचित पधादिकारी हरुलाई आ-आफ्नो पदको शपतग्रहण प्रमुख निर्वाचन आयुक्त द्वारा गरिएको थियो ।
नव निर्वाचित कार्यसमितिमा अध्यक्ष निसा सुनार, वरिष्ठ उपाध्यक्ष बसन्ति राई , उपाध्यक्ष बिमल डॉगी, उपाध्यक्ष बिक्की पुलामी मगर, उपाध्यक्ष राजेन्द्र राई, उपाध्यक्ष ईत्ना कार्की, महासचिव संगीता थापा मगर, सचिव मधुर गिरी, कोषाध्यक्षमा पुष्कर बराल सह-कोषाध्यक्ष पुजा न्यौपाने, र समितीको बोर्ड सदस्यहरुमा नविन श्रेष्ठ ,चिनिया लाल श्रेष्ठ , बुद्दीमान घिसिङ, पुष्पा बस्नेत, माया राई रहेका छन् ।
अधिवेशन कार्यक्रममा न्युयोर्कका समाजसेवी साहित्यकार पत्रकार कलाकर्मी र बिभिन्न संघसंस्थाका प्रतिनिघिहरुको उपस्थिती थियो । नेपाली अमेरीकी कालाकार सँघले अहिलेको जस्तो बिसम परिस्थितिमा पनि सबैलाई उदाहरण प्रस्तुत गर्दै हामी नेपाली भनेको कर्ममा विश्वास गर्ने फ़ुटेर होईन जुटेर अघि बढ्नु पर्दछ भन्दै हामीले प्रजातांत्रिक पद्धतिबाट कर्मको विश्वास गर्दै न कुनै भोटिङ् न कुनै बिबाद न कुनै गुट उप-गुट, बिना नयाँ कार्यसमिति गठन गरेकोमा यसले सबैमा एउटा गतिलो पाठ सिक्न मद्धत गर्नेछ र आजको हाम्रो आवश्यकता पनि हो भन्ने कलाकारहरुले संदेश दिएका छन् । |
कुवेतमा चार नेपाली मदिरा व्यापार गरेको आरोपमा पक्राउ काठमाडौं । कुवेतमा गैरकानूनीरुपमा मदिरा व्यापार गरेको आरोपमा चार नेपाली पक्राउ परेका छन् । त्यहाँको सञ्चार माध्यमका अनुसार कुवेतको हवेलीस्थित अपार्टमेन्टमा गोप्य रुपमा घरेलु मदिरा उत्पादन गरी बिक्री गर्ने तयारी गरिरहेका बेला उनीहरु पक्राउ परेका हुन् ।
कुवेती सुरक्षाकर्मी र महानगरपालिकाको संयुक्त टोलीले उक्त अपार्टमेन्टको एरियालाई नियन्त्रणमा लिएर गरेको खानतलासीका क्रममा सयौं ब्यारल रक्सी र मदिरा बनाउने सामान नियन्त्रणमा लिएको थियो । पक्राउ परेका नेपालीलाई थप अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ ।
केही समयअघि पनि कुवेतको साल्मी बन्दरगाह नजिकै एउटा अपार्टमेन्टमा अवैधरुपमा गोप्य तरिकाले घरेलु मदिरा उत्पादन गरिरहेको अवस्थामा कुवेत प्रहरीले केही नेपालीलाई नियन्त्रणमा लिएर ठूलो परिमाणमा मदिरा बरामद गरेको सामाचार सार्वजनिक भएको थियो ।
कुवेतमा अवैध मदिरा उत्पादन तथा बिक्रीका कारण नेपाली समुदाय बद्नाम हुँदै गएको बताइएको छ । यसै वर्षको शुरुमा अवैध घरेलु मदिरा बनाएर बिक्री गर्ने नेपाली गिरोह नै पक्राउ परेको थियो । अवैध मदिरा उत्पादनमा कुवेतमा अवैधरुपमा बसिरहेका नेपालीहरु संलग्न रहने गरेको बताइएको छ । |
दसैंमा पैसा लिएर आउने बाचा गरेका शेरबहादुर बाकसमा आइपुगे काठमाडौं। हातमा काजगपत्र लगायतका डकुमेन्ट लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार बिहान यताउति गर्दै गरेका स्तब्ध दुई अनुहार दुबईबाट आइपुगेको आफन्तको शव लिएर जाने प्रक्रिया पूरा गर्दै थिए।
एक महिना अघि दुबईमा मृत्यु भएका बाँकेस्थित कोहोलपुरका ३० वर्षीय शेरबहादुर कटुवालको शव बुझ्न जेठान (नवराज बोगटी) र मामा (वसन्त बोगटी) विमानस्थल आएका रहेछन्।
राति २ बजे दुबईबाट त्रिभुवन विमानस्थल आइपुगेको शेरबहादुरको शव बिहान पौन १० बजे गाउँ लिएर जाने तरखरमा रहेका उनीहरु अध्यारो अनुहार लगाएर भन्दै थिए, ‘आज राति १० बजे गाउँ पुगिन्छ होला।’
वैदेशिक रोजगारीको सिलसिलामा सन् २०१९ मा दुबई गएका शेरबहादुरको मृत्यु एक महिनाअघि हृदयघातका कारण भएको रहेछ। उनकी श्रीमती पनि दुबईमा केही वर्षसँगै एउटै कम्पनीमा काम गरेर नेपाल फर्केकी रहेछिन्।
मृतकका मामा वसन्त भन्छन्, ‘भान्जाकी श्रीमती पनि दुबईमा काम गर्थिन्। उनी दुबईबाट गत चैत अन्तिममा नेपाल आएकी हुन्। उता दुवै श्रीमान श्रीमती एउटै कम्पनीमा काम गर्थे।’
वसन्तका अनुसार हाल मृतक शेरबहादुरकी श्रीमती घरमा बच्चाहरुसँग छिन्। वसन्त भन्छन्, ‘उनले(मृतक शेरबहादुरकी श्रीमती) दुबैजना नेपाल जाउ भनेकी रहेछिन्। श्रीमानले नमानेका हुन्। दशैंमा घर आउँछु तिमी जाउ, घरमा पैसा कमाएर ल्याउनु पर्छ भनेकाले उनी चाहिँ अगाडि आएकी हुन्। भान्जा उतै बसे।’
मृतक शेरबहादुरकी श्रीमतीले दुबैजना घर जाउ भन्दा नमानेपछि उनी एक्लै नेपाल फर्केकी रहेछिन्। अन्ततः दसैंमा धेरै पैसा कमाएर ल्याउछु भनेका शेरबहादुर श्रीमती नेपाल फर्केको करिब ५ महिनापछि बाकसमा प्याक भएर घर आइपुगे।
हृदयघात हुनुभन्दा केही समय अघि मृतक शेरबहादुरले नेपालमा भएकी श्रीमतीसँग भिडियो कल गरि निक्कैबेर कुराकानी गरेका रहेछन्। तर, उनी बिहानको उज्यालो देख्न नपाउँदै सधैंका लागि अस्ताए।
वसन्त भन्छन्, ‘भान्जा मर्नुभन्दा अगाडि राति ९ः०० बजेसम्म भान्जी बुहारीसँग भिडियो कलमा कुराकानी भएको थियो। म अब सुत्छु बिहान खाना खाएर डिउटी जानु पर्छ भन्नु भएको थियो रे। भोलिपल्ट त बित्नु भयो भनेर फोन आयो।’
मृतक शेरबहादुरको घरमा श्रीमती र दुई नाबालक छोराहरु छन्। मृतकका मामा बोगटीले भने, ‘घरमा बच्चाहरु स–साना छन्। ठूलो १२ वर्षको, सानो ८ वर्षको छ।’
सोही क्रममा मृतकका स–साना बच्चाहरु भएकाले सरकारले सरसहयोग गरिदिन्छ कि भन्दै मृतकका जेठान नवराज बोगटीले भने, ‘६ र ४ कक्षामा पढ्दै गरेका दुई छोराहरु छन्। सरकारले सहयोग सपोट गरेदेखि बच्चाहरु स–साना छन्, धेरै राम्रो हुन्थ्यो।’
नवराजलाई मृतक शेरबहादुरको श्रम अवधि केही महिना अगाडि सकिएकाले तथा कोरोनाका कारणले गर्दा थप गर्न नसकेका कारणले सरकारी तबरबाट पाउनु पर्ने रकम नपाउने हो कि भन्ने चिन्ता रहेछ।
मृतकका आफन्तसँगै विमानस्थलमा भेटिएका नेपाली मजदुर एकता समाजका अध्यक्ष तेजबहादुर कार्कीले दुखेसो गर्दै भने ‘उहाँ (मृतक शेरबहादुर)को श्रम सकिएको १ वर्ष जति भयो । प्राय म यस्तो केसहरुमा सहयोग गरिराखेको हुन्छु। र, उहाँ मेरो चिनजानको मान्छेहरु पनि हुनु भयो।’
अध्यक्ष कार्कीले मृतक शेरबहादुरको शव विदेशदेखि घरसम्म पुर्याउने काममा सघाउ पुर्याएकाले विमानस्थल गएका रहेछन्। र, उनले मृतक शेरबहादुरको श्रम अवधि कोरोनाका कारण थप गर्न नसकिएकाले उनले पाउनु पर्ने वैधानिक सबै पैसा पाउने विश्वास व्यक्त गरे।
सोही क्रममा वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाको शव नेपाल आइपुग्न महिनौं लाग्ने गरेको दुखेसो गर्दै कार्कीले भने, ‘अन्य देशहरुले एउटा शव २४ घण्टाभित्र कानुनी प्रक्रिया पूरा गरेर आफ्नो देश लिएर जान्छन्। उनीहरुले जेलमा परेको मान्छेलाई समेत २४ घण्टाभित्र कानुनी प्रक्रिया पूरा गरेर लिएर जान्छन्। तर हाम्रो देशको शव ल्याउन महिनौं दिन कुर्नुपर्छ।’
उनले नेपालीहरुको शव विदेशबाट ल्याउन ढिला हुनुको विशेष कारण नेपाल सरकारको कर्मचारी र जिम्मेवारी दूतावासले गर्ने कानुनी प्रक्रिया ढिलो गरेर भएका बताए।
शव छिटो नेपाल झिकाउनुमा सरकारको महत्वपूर्ण भूमिका हुने बताउँदै कार्कीले भने, ‘वैदेशिक रोजगारीमा ज्यान गुमाउनेहरुको अधिकांश समस्या भनेको शव ढिलो आउनु हो। नेपाल सरकारले घटना घटेको जानकारी हुने वित्तिकै आफ्नो कानुनी प्रक्रिया सुरु गरिहाल्यो भने मर्नेहरुको आफन्तले दुई–चार दिनभित्रै शव बुझ्न सक्छन्। १–२ महिनासम्म कुर्नु पर्ने थिएन।’
कार्कीका अनुसार मृतक शेरबहादुर कटुवालले २०१९ मा श्रम गरेर दुबई गएका रहेछन तर उनको २०२१ मा श्रम सकिएको छ। ढिलै भएपनि शेरबहादुरको शव नेपाल त आइपुग्यो तर अब उनले पाउने रकम के हुन्छ त्यो भने केही समय कुर्नु पर्ने हुन्छ।
तर, कार्की मृतकको परिवारले वैधानिक सबै रकम पाउने विश्वास व्यक्त गर्छन्। जुन प्रक्रियाको लागि उनै कार्कीले पहल गरिदिने भएका छन्। |
रक्तदानलाई न्यूयोर्कबाट हैटीसम्म ‘रक्तदान गर्नु राम्रो हो’ धेरै जनाले भन्ने गर्छन् । तर एकदमै कमले मात्र रक्तदान गर्ने गरेका छन् । साइन्स अलर्टमा कार्ली क्यास्सेलाले ‘सन् २०१७ मा संसारभर करीब ३० करोड युनिट रगत चाहिनेमा २७ करोड युनिटमात्र आपूर्ति हुन सक्यो’ भनेर लेखेकी थिइन् ।
किन हो कुन्नि १ यस्ता समाचारहरुले मलाई बेचैन बनाउँछ । अनि म तुरुन्तै त्यस्ता रगत आबश्यक परेका ठाउँमा पुग्छु रक्तदान गर्छु । रक्तदानको लागि उत्प्रेरणा जगाउने प्रयत्न गर्छु । भन्नासाथ पृथ्वीको परसम्म गएर रक्तदान गर्न समय र साधन श्रोतका हिसाबले मलाई धेरै महँगो हुने गरेको छ । तर त्यस कार्यबाट त्यहाँका युवाहरुलाई रक्तदान गर्न प्रेरणा मिल्ने हुँदा म सन्तोष मान्दछु । भबिष्यमा ती युवाहरुले नियमितरुपमा रक्तदान गर्न सके भने धेरै जनाको जीवन बच्ने छ भन्ने मेरो आशा एवं विश्वास छ ।
यही भावनाले म यसपटक क्यारेवियन मुलुक हैटी पुगें । केही हप्ताअघि आएको विनासकारी भूकम्पमा परेर त्यहाँ सयौंको ज्यान गइसकेको छ र सयौं घाइते एवं अंगभंग हुने अवस्थामा पुगेका छन् । स्वाभाविकरुपमा प्राकृतिक विपत्तिलाई रोक्न नसकिए पनि त्यसको असरलाई कम गर्न सकिन्छ । र, पीडितहरुलाई सहयोग गर्न सकिन्छ भन्ने मलाई लाग्छ ।
त्यसैले मैले सेप्टेम्बर ४, २०२१ का दिन हैटीको नेशनल ब्लड ट्रन्स्फुजन सेन्टर पुगेर त्यहाँका निर्देशक डा अन्स्ट नोएल, चेम्बर अफ कमर्सकी कार्यकारी निर्देशक मिस एरिका रोसेन्थल लगायत रक्तदाताहरु बीच रक्तदान गरेँ । यो मेरो २०० औ पटक रक्तदान थियो । ‘आफ्नो समय साधनश्रोत प्रयोग गरेर, तपाईं यहाँसम्म आएर रक्तदान गर्नुहुनेछ भन्नेमा हामीलाई विश्वास लागेको थिएन’ भन्दै डा।नोएलले ’रक्तदानको लागि तपाईं प्रतिबद्ध र राम्रो उत्प्रेरक हुनुहुँदो रहेछ’ भने ।
हैटीमा वार्षिक करीब ८० हजार युनिट रगत चाहिनेमा करीब ३० हजार युनिट जति मात्रै रगत संकलन हुँदो रहेछ । रक्तदाताहरुलाई संगठित गरेर रक्तदान अभियानमा सहभागी गराउने प्रायोजनको लागि मैले ५०० डलर पनि सहयोग गरेँ । हैटीमा केहीहप्ता अगाडि भुकम्पका कारण करीब १,७०० जनाको मृत्यु भएको थियो । ७००० जनाभन्दा बढी घाइते भएका छन ।
अब सेप्टेम्बरमा कङ्गो र अप्रिलमा जापानका युवाहरुलाई रक्तदान गर्न हौशला प्रदान गर्न एक एक दिनको लागि जाने योजनामा छु । यो एउटा विश्वब्यापी रक्तदान अभियान हो । सजिलो छैन । तर गर्न सक्छु भन्ने दृढ विश्वास छ । के तपाईंहरु पनि मलाईसाथ दिन सक्नुहुन्छ त ? |
एनआएनएमा राजनीतिक हस्तक्षेप असह्यः सिम्खडा लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को केन्द्रिय सचिव पदका प्रत्यासी रामशरण सिम्खडाले एनआरएनमा राजनीतिक हस्तक्षेप अस्वीकार्य भएको बताएका छन् । एनआरएनएको दशौं महाधिवेशनको अवसरमा युरोपका प्रवासी पत्रकारहरुसँगको एक कार्यक्रममा बोल्दै सिम्खडाले पार्टीगत राजनीति गर्नेहरुका लागि पार्टीका भातृ तथा शुभेच्छुक संगठन उचित हुने सुझाव दिए ।
एनआरएनएलाई गैरआवासीय नेपालीको साझा संस्था बनाउनुपर्ने सिम्खडाको भनाइ छ । एनआरएनएमा पार्टी निकट उमेद्वारलाई जिताउन भन्दै कांग्रेस महामन्त्रीले लेखेको पत्रप्रति लक्षित गर्दै सिम्खडाले कुनै पार्टीको कार्यालय तथा मन्त्रालयबाट एनआरएनका मतदान अधिकृतलाई दबाब दिनु वा पत्र लेख्नु निकै दुखःद भएको बताए । ‘सामाजिक, सेवामूलक संस्थामा राजनीति हस्तक्षेप हुनु असह्य छ,’ उनले भने । पछिल्लो समय एनआरएनएमा चुनाव जित्नका लागि जस्तोसुकै कदम चाल्न थालिएको भन्दै सिम्खडाले त्यसप्रति आपत्ति जनाए । ‘केन्द्रिय नेतृत्वमा धनी र सम्भ्रान्तहरुको बाहुल्यता बढ्दै गएकाले एनआरएनए सबै गैरआवासीय नेपालीको साझा संस्थाका रुपमा विकसित हुन नसकेको देखिन्छ । त्यसलाई चिर्न र संस्थालाई सबैको बनाउन मैले उमेद्वारी घोषणा गरेको हु“,’ सिम्खडाले भने ।
आफ्नो उमेद्वारी दलीय आधारमा वा गुटगत भागबण्डाका आधारमा नभएको सिम्खडाको दाबी छ । ‘म गुटगत वा दलगत नभइ कार्यशैली र एजेन्डाका आधारमा अध्यक्षका एक उमेद्वारस“ग सहकार्य गर्न तयार भएको हु“,’ उनले भने । सिम्खडा अध्यक्षका उमेद्वार बद्री केसीसँग निकट छन् । पछिल्लो समय एनआरएनए नेतृत्वले संस्थागत सुधार र विकासका क्षेत्रमा निकै काम गरेपनि अझै धेरै गर्न बाकी रहेको भन्दै आफू सचिव पदका लागि उमेद्वार बनेको बताए ।
एनआरएनएभित्र बौद्धिक तथा भद्र नेताका रुपमा परिचय बनाएका सिम्खडा हाल एनआरएनएका केन्द्रिय सदस्य तथा विधान संसोधन समितिका सहसंयोजक हुन् । |
मलेसियाबाट शनिबार एकैपटक २० नेपालीको शव ल्याइयो काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मलेसियाबाट २० नेपालीको शव र अस्तुु एकै पटक आइपुगेको छ । वैदेशिक रोजगारीको सिलसिलमा मलेसियामा विभिन्न कारणले मृत्यु भएका आठ जनाको शव र १२ जनाको अस्तु शनिबार नेपाल ल्याइएको हो ।
नेपाल एयरलाइन्सको वाइडबडीको विमानमार्फत मलेसियामा रोकिएका शव र अस्तुु ल्याइएको वैदेशिक रोजगार बोर्डको सचिवालय मलेसियाले जनाएको छ । बोर्डका अनुसार कोभिड–१९ पछि मलेसियामा नियमित उडान नभएका कारण रोकिएका शव एकै पटक सङ्कलन गरेर ल्याउने गरिएको छ ।
बोर्डका सूचना अधिकारी दीनबन्धु सुवेदीका अनुसार कोभिडका कारण मृत्यु हुनेको अस्तुु मात्रै ल्याइएको छ भने अन्य कारणले मृत्यु भएका श्रमिकको शव ल्याइएको हो । विमानस्थलमा आइपुगेका आठवटा शवमध्ये एक शव बौद्ध धर्म मान्ने भएकाले काठमाडौँको बौद्धमा पुर्याइएको थियो भने सातवटा शव शनिबार नै मृतकको घरसम्म पठाइएको थियो । वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा मृत्यु भएका नेपालीहरुको शव बोर्डले निःशुल्क घरसम्म पुर्याउँदै आएको छ ।
शवसँगै आएका अस्तुु भने सम्बन्धित मृतकका आफन्तले विमानस्थलसम्म आएर बुझ्नुपर्ने व्यवस्था गरिएको बोर्डले जनाएको छ । मलेसियामा उडान भर्ने अन्य एयरलाइन्सले शव नल्याउने र नेपाल एयरलाइन्सको वाइडबडी नियमित रूपमा मलेसिया नजाने भएकाले नेपालीको शव लामो समयसम्म मलेसियामै रहने गरेको छ ।
मलेसियास्थित नेपाली दूतावासको तथ्यांकअनुसार गएको महिना अगस्टमा मात्रै मलेसियामा १ सय १२ जना नेपालीको मृत्यु भएको छ । त्यसमध्ये ९६ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो भने हृदयाघात, सवारी दुर्घटना, अत्याधिक मदिरा सेवन, शरीरमा जटिल रोगले १६ जना नेपालीको मृत्यु भएको जनाइएको छ । |
फिलिपिन्सद्वारा नेपालसहित १० देशमाथि लगाएको यात्रा प्रतिबन्ध सुचारु काठमाडौं । फिलिपिन्सले नेपालसहित १० वटा एसियाली देशमाथि लगाएको यात्रा प्रतिबन्ध हटाएर सुचारु गरेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार फिलिपिन्सले कोरोना भाइरस संक्रमणको हालको अवस्था सुधार हुँदै गएको र खोपको प्रयोग पनि बढेको भन्दै यात्रा प्रतिबन्ध हटाइएको हो ।
फिलिपिन्सले भोलि (सोमबार)देखि लागू हुने गरि ति देशहरुसँग यात्रा सुचारु गर्ने भएको छ । कोरोना भाइरसको डेल्टा भेरियन्ट देखिन थालेपछि फिलिपिन्सले गएको अप्रिलदेखि नेपालसहित भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, संयुक्त अरब इमिरेट्स (यूएई), ओमान, थाइल्यान्ड, मलेसिया र इन्डोनेसियामाथि प्रतिबन्ध लगाइएको थियो ।
फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेले यात्रा प्रतिबन्ध हटाउन अन्तर निकाय कोभिड–१९ कार्यदलको सिफारिस स्वीकृत गरेको जानकारी दिएका छन् । तर, फिलिपिन्स जाने यात्रुहरूले प्रवेश परीक्षण र क्वरेण्टीनलगायत सम्बन्धी नियम भने पालना गर्नुपर्ने हुन्छ । |
नेपाली युवा पोखरेलको क्यालिफोर्नियामा निधन काठमाडौं । अमेरिकाको क्यालिफोर्नियास्थित सानफ्रान्सिस्को नर्थ इष्ट बे एरियामा बस्दै आएका २७ वर्षीय नेपाली युवा सुमन पोखरेलको निधन भएको छ । उनको हिजो(सेक्टेम्बर ४) शनिबार बिहान उपचारका क्रममा अस्पतालमा निधन भएको हो ।
गत बिहीबार सुतिरहेको अवस्थामा अचेत भेटिए पछि पोखरेललाई आफन्त र साथीहरूले नजिकैको ओकल्यान्ड काईजर अस्पतालमा पुर्याइएको थिए । उनी झापा जिल्लाको बिर्तामोडका हुन् । उनको परिवारमा बुवा, आमा र श्रीमती छन् ।
सन् १९९५ फेब्रुअरीमा जन्मिएका पोखरेल डीभी भिसाको माध्यबाट सन् २०१७ मा अमेरिका पुगेका थिए । हाल सनफ्रानसिस्कोबाट पूर्व उत्तरमा रहेको सहर रिचमोण्डमा बस्दै आएका पोखरेलको शनिवार उपचारको क्रममा मृत्यु भएको ओकल्याण्डस्थित काइजर अस्पतालले पुष्टि गरेको छ ।
पोखरेलको शव व्यवस्थापन र आवश्यक सहयोगका लागि, ह्वाइट जोन क्यालिफोर्निया च्याप्टर, मेरिल्यान्ड राज्यका हाउस अफ डेलिगेटस ह्यारी भण्डारी, गैर आवासीय नेपाली सङ्घ, अमेरिकाका पश्चिम तटिय क्षेत्रका क्षेत्रीय संयोजक श्रीराम थापा र गैर आवासीय नेपाली सङ्घ, अमेरिकाको क्यालिफोर्निया च्याप्टरले संयुक्त रुपमा काम गरिरहेको जनाइएको छ ।
स्वर्गीय पोखरेलको परिवारको अनुरोधमा शव व्यवस्थापन गरी नेपाल पठाउनका लागि आवश्यक काममा लाग्ने खर्च जुटाउन ह्वाइट जोन क्यालिफोर्नियाको तर्फबाट गोफण्ड खोलिएको छ । |
एनआरएनए अधिवेशन : उम्मेदवारी घोषणा सुरु बर्लिन । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को अधिवेशन नजिकिएसँगै धमाधम उम्मेदवारी घोषणा भइरहेका छन्। नयाँ कार्यसमिति चयनका लागि जर्मनीका प्रतिनिधिलाई चासोका साथ हेरिने गरिन्छ। वर्तमान अध्यक्ष कुमार पन्त र पूर्वअध्यक्ष जीवा लामिछाने पनि यही देशबाट प्रतिनिधित्व गर्छन्।
यसैगरी रामप्रताप थापा, उषा शर्मा, दिल गुरुङलगायत एनआरएनए अभियानकर्मी रहेकाे भएको जर्मनीबाट यसपटक अन्तर्राष्ट्रिय समन्वय परिषद् तहमा नेतृत्व लिएर अघि बढ्ने उम्मेदवारबारे चर्चा सुरु हुन लागेको छ। यहाँ एक हजार ५९५ सदस्य छन्। आइसिसीमा जान पाउनेमा निर्वाचनमार्फत शङ्कर डाँगी विजयी भइसकेका छन्।
अक्टोबर तेस्रो साता सुरु हुने अधिवेशनका लागि युरोप क्षेत्रीय संयोजक र उपसंयोजकका उम्मेदवारका रूपमा जर्मनीबाट क्रमशः पूर्वआइसिसी सदस्य सन्तोष भट्टराई र जर्मनीका पूर्वअध्यक्ष डा नवराज रोस्याराले उम्मेदवारी दिने घोषणा गर्नु भएको छ।
यसपटक पहिलेको जस्तो परिस्थिति पनि नभएको र आफ्नो उम्मेदवारी समयको माग बनेकाले युरोप क्षेत्रको नेतृत्व लिने अठोटमा पुगेको उनीहरुको भनाइ छ।
यसैगरी बद्री केसी, कुल आचार्य र रविना थापाबीच अध्यक्ष पदमा प्रतिस्पर्धा हुन लागेको बताइएको छ। उपसंयोजक पदका उम्मेदवार डा रोस्यारा पनि अन्तिम अवस्थासम्म आउँदा केवल तीन जनाको मात्र उम्मेदवारी पर्नसक्ने भएकाले सर्वसम्मतरूपमा विजयी हुने दाबी गर्छन्।
विद्युतीय मतदान प्रणालीमार्फत अक्टोबरमा हुने निर्वाचनमा युरोप क्षेत्र संयोजकको लागि अहिलेसम्म पाँच जनाको नाम बढी चर्चामा छ। तीमध्ये जर्मनीबाट भट्टराई, बेलायतबाट कृष्णप्रसाद तिमल्सिना, आयरल्याण्डबाट शुक्रराज न्यौपाने, स्पेनबाट मुक्त गुरुङ र चिन्तामणि सापकोटा रहेका छन्।
त्यस्तै उपसंयोजकको तीन पदका लागि जर्मनीबाट डा रोस्यारा, अष्ट्रियाबाट सागर सुवेदी, बेल्जियमबाट चित्र सुवेदी, पोर्चुगलबाट भीमकमल केसी, नर्वेबाट कुमार पण्डित, आयरल्याण्डबाट सागर लामा, बेलायतबाट ललितकुमार न्यौपाने र दयानिधि तिवारी बढी चर्चामा छन्। |
एनआरएनए तेस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन लन्डनमा लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा तेस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन हुने भएको छ।
१७ देखि १९ सेप्टेम्बरसम्म बेलायतको राजधानी लन्डनमा हुने सम्मेलनमा २५ देशका तीन सयभन्दा बढी नेपाली चिकित्सहरुको सहभागिता रहने छ।
सम्मेलनमा ५० भन्दा बढी नेपाली चिकित्सहरुले आ–आफ्नो कार्यपत्र प्रस्तुत गर्ने गैरआवासीय नेपाली संघ, स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाले बताए।
सम्मेलन स्वास्थ्य क्षेत्रमा अनुसन्धान, स्वास्थ्य प्रवर्द्धन, प्रयोगशाला, नेपालमा रोक नियन्त्रण केन्द्र, नेटवर्किङलगायत स्वास्थ्यसम्बन्धी उपचार, रोकथाम र व्यवस्थापनमा केन्द्रित रहनेछ।
सापकोटाका अनुसार सम्मेलनमा विदेशमा रहेका नेपालीहरुको स्वास्थ्य अवस्था, कोभिड-१९ महामारीको प्रभाव र चुनौती, नेपालमा खोपको सम्भावना, मुटुरोग, बालबालिका तथा महिलाहरुको स्वास्थ्य अवस्थालगायत विषयमा विज्ञ चिकित्सकहरुले कार्यपत्र पेस गर्नेछन्। लन्डनस्थित नेपाली दूतावास भवनमा उद्घाटन हुने सम्मेलनको समापन अल्डरसटमा गर्ने स्वास्थ्य समितिले जनाएको छ।
नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवको आतिथ्यमा हुने सम्मेलनलाई गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त, डा. भगमान कोइराला, बेलायती उपल्लो सदनकी सदस्य लर्डस् ब्यानेरस क्यानेडी, डा. सुनिल शाह, गैरआवासीय नेपाली संघका महासचिव डा. हेमराज शर्मा, एनआरएनए स्वास्थ्य अनुसन्धान समितिका संयोजक डा. बोधराज सुवेदीलगायतले सम्बोधन गर्नेछन्।
सम्मेलनमा नेपाल मेडिकल काउन्सिल, अष्ट्रेलिया नेपाली मेडिकल काउन्सिल, नेपाल नर्सिङ एसोसियन युके, नेपाली डाक्टर एसोसिएसन युके, गैरआवासीय नेपाली संघ युके, नर्सिङ नेपाली एसोसिएसन युकेलगायत एक दर्जन संघ-संस्था तथा प्रतिनिधिहरुको सहभागिता रहने छ।
तीन दिनसम्म चल्ले सम्मेलनको पहिलो दिन चिकित्सकहरुले भर्चुअल माध्यमबाट आ-आफ्ना अनुसन्धान पत्र प्रस्तुत गर्ने छन् भने दोस्रो दिन सम्मेलनको औपचारिक उद्घाटन हुने छ।
१९ सेप्टेम्बरमा लन्डन घोषणापत्र जारी गर्दै सम्मेलन समापन गरिने गैरआवासीय नेपाली संघको कोभिड-१९ उच्चस्तरीय समितिका संयोजक चिरन शर्माले जानकारी दिए। गैरआवासीय नेपाली संघको आयोजनामा यसअघि अमेरिकामा पहिलो र दोस्रो स्वास्थ्य सम्मेलन भइसकेको छ। |
समस्यामा एकअर्का नेपालीलाई सहयोग गर्न एएनए र एनआरएनए, अमेरिकाको आग्रह वासिंगटन डिसी । आंधी र त्यसको प्रभावले बाढी पहिरो गएका कारण अमेरिकाका समस्याग्रस्त क्षेत्रमा रहेका नेपालीहरुलाई सुरक्षित बासस्थानमा जान एसोसिएसन अफ नेप्लिज इन द अमेरिका(एनएनए) ले आग्रह गरेको छ
एएनएका अध्यक्ष विजयराज भट्टराईले शुक्रबार दिउंसो एक विज्ञप्ति प्रकाशित गर्दै आवश्यक परेको खण्डमा सरकार र स्थानीय निकायहरुले तयार गरेको सुरक्षित सेल्टरमा गएर बस्न आग्रह गरेका छन् । अध्यक्ष भट्टराईले समस्या परेका साथी भाइ, आफन्त वा जो कोही भए पनि नेपालीले नेपालीलाई सहयोग गर्न आह्वान पनि गरेका छन् ।
विगत केही दिनदेखि अमेरिकाको न्यूयोर्क, न्यूजर्सी र लुजियानालगायतका राज्यहरुमा भारी बर्षा, आंधीबेहरी र बाढीले जनजीवन प्रभावित पारेको छ । यी राज्यका कतिपय ठाउंमा बसोवास गर्ने नेपालीहरु अत्यावश्यक पिउने पानी, ग्यांस, विजुली बत्तीजस्ता चीजहरुको सप्लाई बन्द भएकाले समस्यामा परेको जानकारीहरु सामाजिक सञ्जालमा देखिन थालेको सन्दर्भलाई समेत उल्लेख गर्दै एएनएले सहयोगको अपिल जारी गरेको हो । न्यूयोर्कमा आएको भिषण बाढी र बर्षात्का कारण नेपालको सोलुखुम्बु घर भएका हाल न्यूयोर्क निवासी आङ्गगेलु शेर्पा, उनकी पत्नी मिङ्मा शेर्पा र उनीहरुको १९ महिने छोरा लोप्साङ्ग शेर्पाको मृत्यु भएको छ । यो घटनामा परी ज्यान गुमाउनेहरुप्रति पनि एएनएले समवेदन प्रकट गरेको छ ।
यसैगरी गैरआवासीय नेपाली संघ(एनआरएनए) अमेरिकाका अध्यक्ष बुद्धिसागर सुबेदीले पनि एक विज्ञप्ति जारी गर्दै न्यूयोर्कको घटनामा परी दिवंगत भएका नेपालीजनप्रति गहिरो समवेदना प्रकट गरेका छन् । उनले परिवारका सदस्यहरुको सल्लाहमा आवश्यक सहयोगको तयारी गर्न एनआरएनएको न्यूयोर्क च्याप्टरले काम गरिरहेको पनि जानकारी गराएका छन् । |
अफगानिस्तानबाट बिहिबार थप दश जनाको उद्धार, हालसम्म ८५७ जना स्वदेश फर्किए काठमाडौं । अफगानिस्तानबाट नेपालीलाई यथाशक्य चाँडो उद्धार गरी स्वदेश फर्काउन क्रम जारी रहेको जनाउँदै सरकारले त्यहाँबाट उद्धार गरिएका १० जना आज यहाँ आइपुगेका बताएको छ ।
काबुलमा उद्धार उडानको प्रतीक्षामा रहेकाहरूलाई स्वदेश फर्काउन सम्बन्धित निकायसँग समन्वय भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । काबुलमा रहेका सबैसँग सरकार नियमित सम्पर्कमा रहेको पनि उक्त मन्त्रालयले बताएको छ । अफगानिस्तानबाट हालसम्म ८५७ जनाको उद्धार गरिएको र ती सबै स्वदेश आइसकेका पनि मन्त्रालयले आज अपराह्न प्रेस विज्ञप्ति निकालेर जनाएको छ । आगमनपछि उनीहरूलाई कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रबाट स्वास्थ्य मापदण्डअनुसार प्रक्रिया पूरा गरी व्यवस्थापन गरिएको छ ।
अफगानिस्तानमा रहेकाहरूलाई कन्सुलर सेवा विभागको वेबसाइटमा रहेको ‘अनलाइन पोर्टल’ तथा विभाग, परराष्ट्र मन्त्रालय, मन्त्रालयको ‘सिचुएशन रुम’ र नयाँदिल्लीस्थित नेपाली दूतावासमा आफ्नो नामसहितको विवरण दर्ता गराउन पनि मन्त्रालयले अनुरोध गरिएको छ । |
नेपालमा सहयोग गर्न अमेरिकामा चित्रकला प्रदर्शनी वासिङ्टन डिसी । नेपालमा बालबालिकाका क्षेत्रमा सहयोग गर्न इन्गेज नेपालको आयोजनामा अमेरिकाको भर्जिनियामा दुईदिने चित्रकला प्रदर्शनी सुरु गरिएको छ । भर्जिनियाको रेष्टन आर्ट ग्यालरीमा आजसम्म चल्ने प्रदर्शनीमा नेपालका चित्रकलाको विभिन्न ६० वटा चित्र प्रदर्शनीमा राखिएको छ । नेपालका किरण चित्रकारले तयार पारेको ती चित्रकलाको प्रदर्शनी तथा बिक्रीसमेत गरिने छ । युगाण्डाका चित्र पनि प्रदर्शनीमा राखिएको छ ।
आयोजक संस्थाका कार्यकारी निर्देशक तथा नेपालका लागि अमेरिकाका पूर्वराजदूत स्कट एच डेलेसीका अनुसार चित्रकलाको बिक्रीबाट आएको रकम पिकु र नेपाल कोरिया फ्रेण्डशीप म्युनिसियल अस्पतालको सहयोगमा निर्मित अस्पतालको बाल उपचार सघन कक्ष निर्माणका लागि सहयोग गरिने छ ।
पूर्वराजदूत डेलिसीको प्रयासमा सन् २०१५ को डिसेम्बरमा स्थापना भएको इन्गेज नेपालले नेपालमा विभिन्न १६ वटा आयोजना सञ्चालनमा ल्याएको छ । अमेरिकामा स्थापित संस्थाले कोरोना महामारीका बेलामा समेत आवश्यक पर्ने स्वास्थ्य सामग्री र उपकरण सहयोग गरेको थियो ।
सन् २०२१ मा संस्थाले दुई लाख ११ हजार डलर बराबरको सहयोग गरिसकेको छ । आफ्नो अवकाश जीवन व्यतित गरिरहेका डेलिसीले नेपाल केन्द्रित भएर सहयोग गर्दै आएका छन् । रासससँग सङ्क्षिप्त प्रतिक्रिया दिँँदै पूर्वराजदूत डेलेसीले भने, “मैले दशकौँ वर्ष राज्यको अङ्गमा बसेर सेवा गरेँ, मेरो जीवनमा नेपाल र नेपाली जनतासँगको सामिप्यताले महत्वपूर्ण भूमिका खेलेको छ । खासगरी नेपालीको हार्दिकता र आत्मीय भावले उनीहरुको साझा चुनौतीलाई हातेमालो गर्न विभिन्न कार्यक्रम सञ्चालन गरेका हौँ ।”
नेपाली बालबालिकाका लागि जटिल प्रकृतिको रोग निराकरण गर्न सघन उपचार कक्ष अतिआवश्यक विषय हो । एक तथ्याङ्कअनुसार नेपालमा रहेका करिब ९० लाख बालबालिकाका लागि नेपालभरि जम्मा ९३ वटा सघन उपचार कक्ष रहेको छ । |
इजरायलमा १० नेपाली फरार, जान लागेका हजार श्रमिकलाई असर पर्नसक्ने काठमाडौं । तालिम तथा अध्ययनका लागि इजरायल पुगेकामध्ये १० नेपाली उतै फरार भएका छन् । इजरायलको तेल अविवस्थित नेपाली दूतावासले विज्ञप्तीमार्फत सो को बारे जनाकारी गराएको हो ।
फरार ती नेपाली इजरायली अन्तर्राष्ट्रिय विकास साझेदार संस्था (एमएएसएचएभी)द्वारा सञ्चालित ‘लर्न एण्ड अर्न’ अन्तर्गत नेपालको साना किसान विकास बैंकबाट छनौट भई विभिन्न ५ वटा कृषि केन्द्रमा गएका हुन् । तिनीहरु ११ महिना अवधिको तालिम/अध्ययनका लागि ईजरायल जाने विद्यार्थीहरुमध्येका नेपालीहरु सम्पर्कविहिन भएका हुन् ।
देशको प्रतिष्ठालाई तिलाञ्जली दिँदै व्यक्तिगत स्वार्थ र लाभका लागि गैरकानुनी हिसाबले लुकिछिपी बस्ने कार्य गरेको भन्दै दूतावासले २–४ जनाको वदमासीले गर्दा वार्षिक ५ सय जनाको ढोका बन्द हुनसक्ने बताएको छ । त्यस्तै, दूतावासले ५ सय संख्यालाई बढाएर वार्षिक १ हजार पुर्याउने प्रयास भइरहेकोमा नेपालीहरुको यस्ता अवैधानिक क्रियाकलापले गर्दा समग्र कार्यक्रम नै बन्द हुन सक्ने जनाएको छ ।
दूतावासका अनुसार ‘सेडोट नेगेभ एग्रिकल्चर ट्रेनिङ सेन्टर’ बाट ४ जना, ‘द एक्सटर्नल स्टडिज इन्टिच्युट’ बाट २ जना, किन्नेरेटस्थित कलेजबाट २ जना, ‘अराभ इन्टरनेशनल सेन्टर फर एग्रिकलचर ट्रेनिङ सेन्टर’ बाट २ जना गरी जम्मा १० नेपाली सम्पर्कविहीन छन् । उनीहरू इजरायलको विभिन्न ट्रेनिङ सेन्टरमा अध्ययन तथा तालिममा संलग्न थिए ।
विज्ञप्तीमा भनिएको छ, ‘विद्यार्थीबाहेक रोजगारीका सिलसिलामा आएका/ल्याइएका अन्य केही पनि सम्पर्कविहिन भएको पाइएको छ । उनीहरु सबैको खोजी भइरहेको छ भने केहीको पत्तो लागिसकेको छ । प्रहरीको सहयोगमा पक्राउ गरी उनीहरुलाई यथाशक्य छिटो नेपाल पठाउन आवश्यक समन्वय भइरहेको छ ।’
साथै, दूतावासले सम्पर्कविहिन विद्यार्थीलगायत अन्य नेपालीहरुलाई तुरुन्त सम्पर्कमा आउन आग्रह गरेको छ । अन्यथा आवश्यक कारवाहीको प्रक्रिया अगाडि बढाइने जनाएको छ । |
साथी बाल्टिमोरले सेप्टेम्बर ४ र ५ मा क्रिकेट खेल आयाेजना गर्ने बाल्टिमोर । अमेरिकाको बाल्टिमोर शहरमा रहेको नेपाली युवाहरुको संस्था साथी बाल्टिमोरले सेप्टेम्बर ४ र ५ मा गर्ने क्रिकेट खेलको आयोजना गर्ने भएको छ। साथी बाल्टिमोरका रमेश भट्टका अनुसार उक्त खेलमा ६ वटा टिमले सहभागिता जनाउने भएका छन्।
खेलमा आयोजकका दुई टिम रहेको भट्टले जानकारी दिए। सहभागी ६ टिमलाई दुई समुहमा विभाजन गरिएको छ।
प्रतियोगितामा डीएमभी अल स्टार्स, एभरेष्ट लायन्स क्रिकेट क्लव, फार वेस्र्टन क्रिकेट क्लव, मेरिल्याण्ड क्राब्स, साथी बाल्टिमोर क्रिकेट क्लव ए र बी रहेका छन्।
समुह ए को पहिलो खेलमा डीएमभी अल स्टार्स र साथी बाल्टिमोर क्रिकेट क्लवको ए टिमले खेल्नेछ। यस्तै समुह बी को पहिलो खेलमा मेरिल्याण्ड र फार वेस्र्टनबीच प्रतिस्पर्धा हुनेछ।
दुई समुहका शीर्ष दुई टिमले सेमिफाइनल खेल्ने छन्। दुईवटा मैदानमा हुने प्रतियोगिता दुई दिन चल्नेछ।
पहिलोपटक आयोजना हुन लागेको सो प्रतियोगिताको विजेताले २५ सय अमेरीकी डलर पाउने छ भने दोस्रो हुनेले १५ सय अमेरीकी डलर हात पार्ने साथी बाल्टिमोर क्रिकेट क्लवका ब्यवस्थापक उत्सब सिग्देलले जानकारी दिए। |
वैदेशिक रोजगारीमा जाने र आउनेका लागि आप्रवासन सहायता कक्ष सञ्चालन म्याग्दी । वैदेशिक रोजगारमा जान लागेका र फर्किएकाहरूलाई लक्षित गरी बेनीमा आप्रवासन सहायता कक्ष सञ्चालन गरिएको छ । सुरक्षित आप्रवासन परियोजनाअन्तर्गत रिड नेपाल नामक संस्थाको सहयोगमा म्याग्दी सामुदायिक पुस्तकालयले कक्ष सञ्चालनमा ल्याएको हो ।
वैदेशिक रोजगारसम्बन्धी परामर्श र समस्याको सहजीकरणका लागि पुस्तकालयको भवनमै उक्त कक्ष सञ्चालन गरिएको संस्थाका अध्यक्ष सन्तोष रावलले बताए । उनका अनुसार वैदेशिक रोजगारमा जान लागेका र फर्किएकाहरूलाई कानुन, नीतिगत व्यवस्था र प्रक्रियाबारे परामर्श दिने उद्देश्यले सहायता कक्ष सञ्चालन गरिएको हो ।
उनले भने, ‘वैदेशिक रोजगारको नाममा हुने ठगी र मानव बेचबिखन रोकथाममा सघाउनाका साथै समस्यामा परेकाका तर्फबाट सम्बन्धित निकायमा उजुरी र कानुनी उपचारमा सहजीकरण गरेका छौँ ।’ गएको वैशाखदेखि सञ्चालनमा आएको सहायता कक्षाबाट पाँच सयभन्दा धेरैले सेवा लिइसकेका छन् । सहायता कक्षमा वैदेशिक रोजगारसम्बन्धी उपयोगी पुस्तक, पर्चालगायत अध्ययन सामग्री पनि राखिएको छ ।
वि.सं.२०६८ को जनगणनाअनुसार जिल्लाका २५ हजारभन्दा बढी नागरिक रोजगारीका लागि विश्वका विभिन्न देशमा गएको देखिन्छ । यो संख्या र कानुनी प्रक्रिया पूरा गरेर वैधानिक बाटो भई विदेश जानेको हो । पछिल्लो समय अवैध बाटो भएर, धेरै खर्च र जोखिम मोलेर अमेरिकालगायत युरोपेली मुलुक जाने क्रम बढेको बताइन्छ । |
इराकमा १२ नेपालीकाे हत्या भएको त्यो दिन काठमाडौं। आज इराक हत्याकाण्डको १७ वर्ष पूरा भएकाे छ। रोजगारीका लागि इराक पुगेका १२ नेपालीको १६ भदौ २०६१ मा हत्या भएको थियो। इस्लामिक संगठन अन्सर अल सुन्नाले हत्या गरेको थियो। सो घटनालाई लिएर वैदेशिक रोजगार व्यवसायी संघ-संस्थाले आजको दिनलाई कालो दिनमा रुपमा मान्ने गरेका छन्।
ती नेपालीलाई काठमाडौंको मुनलाइट म्यानपावर कम्पनीले जोर्डनमा आकर्षक जागिरको लोभ देखाएर झुक्याउँदै इराक पुर्याएको थियो। घटना लगत्तै काठमाडौंलगायत देशका मुख्य सहरका म्यानपावर कम्पनी, सरकारी कार्यालयसँगै खाडी मुलुकका दूतावासमा नेपालीले आक्रण गरेका थिए।
नेपालीका लागि इराकमा वैदेशिक रोजगारी अवैध रहे पनि गैरकानुनी बाटोबाट कामदार लैजाने गरिन्छ।
घटनाको करिब एक वर्षपछि मात्र १२ मृतक परिवारका तर्फबाट सैन्य ठेक्कापट्टामा संग्लन कम्पनी केल्लोग ब्राउन एन्ड रुट (केबीआर) विरुद्ध मुद्दा दायर गरिएको थियो । र, लामो कानुनी लडाइँपछि पीडित परिवारले क्षतिपूर्ति पाएका थिए । १७ वर्ष अघिकाे त्याे क्रुर हत्या घटनाकाे घाउ भने आलाे नै छ। |
लण्डनमा नेपालीद्वारा गुम्बा स्थापना काठमाडौं । लण्डन शहरको दक्षिण पूर्वमा रहेका बुद्ध धर्म अनुयायी नेपालीले गुम्बा स्थापना गरेका छन् । डायमण्ड बुद्धिष्ट सेन्टर नामक संस्थाको पहलमा बनेको उक्त गुम्बाको क्षेत्रफल १ हजार ६ सय ६८ स्क्वायर फीट रहेको सेन्टरका अध्यक्ष सुमलकुमार गुरुङले बताए ।
कूल दुई लाख ८३ हजार ५ सय पाउण्डमा खरिद गरिएको उक्त गुम्बाको भवनका लागि संस्थाले उठाएको रकममा थप अपुग भए पनि केही ऋण लिएर पूरा गरिएको बुद्धिष्ट सेन्टरले जनाएको छ । सन् २०१६ मा स्थापना गरेको यो संस्थामा स्थापना गर्दा केवल २१ जनाबाट गरिएको थियो तर हाल यस संस्थामा ४ सय ५१ जना आजीवन सदस्य र १ सय ४१ जना ट्रष्टी आबद्ध रहेको र उनीहरूकै सामूहिक पहलमा यो काम सफल भएको अध्यक्ष गुरुङले बताए ।
गुम्बाको भवन भए पनि अझ गुम्बाका लागि लामा राख्ने र त्यसको व्यवस्थापन गर्न थुप्रै काम गर्न बाँकी रहेको अध्यक्ष गुरुङले बताए । गुम्बाका लागि थप सामग्री र केही मूर्ति दाताबाट प्राप्त हुने बताइएको छ । गुम्बा खरिदका लागि रकम सङ्कलन गर्न संयोजकका रूपमा उपाध्यक्ष श्रीमती मीना गुरुङलाई तोकिएको र उनले थप सदस्य राखेर घरदैलो गरेर रकम सङ्कलन गर्न ठूलो भूमिका निर्वाह गरेको गुम्बा व्यवस्थापन समितिले जनाएको छ ।
देश विदेशमा रहेका १ सय १० वटा गुम्बाको छाता सङ्गठनका रूपमा रहेको बौद्ध नेपाल तमु बौद्ध सङ्गठनबाट लामाको व्यवस्था भईसकेको र जसका लागि सन् २०१८ मै एफओयू गरेको र यसभित्र १७ आचार्य, चार जनाले बुद्ध धर्मकै विषयमा विद्यावारिधि गरेको अध्यक्ष गुरुङले बताए । प्रत्येक वर्ष बुद्धजयन्तीको अवसरमा लण्डनको लउइचदेखि प्लमस्डीडसम्म पदयात्रा गर्दै आइरहेको सेन्टरले जनाएको छ । रासस |
इजरायल रोजगारीको परीक्षा भदौ अन्तिम साता हुने काठमाडौं । इजरायलले ‘केयरगिभर’का लागि माग गरेको १ हजार जना नेपाली श्रमिकको कोटाको परिक्षा यहि भदौ अन्तिम साता हुने भएको छ । वैदेशिक रोजगार विभागको सूचनाका अनुसार रोजगारीका लागि आवेदन दिई वैदेशिक रोजगार विभागबाट स्वीकृत भएकाहरूको यहि भदौ २८ गते अंग्रेजी भाषाको लिखित परीक्षा हुने भएको हो ।
परीक्षा भौतिक उपस्थितिमा काठमाडौंका विभिन्न केन्द्रमा गरिने छ भने प्रवेशपत्र अनलाइनमार्फत् उपलब्ध गराइने छ । साथै, केन्द्रका सम्बन्धमा परीक्षार्थीहरूको प्रवेशपत्र तथा विभागको वेवसाइटमार्फत जानकारी गराइने जनाइएको छ ।
भाषा परीक्षा तोकिएका विज्ञ व्यक्तिको सहयोगमा गरिनेछ । भाषा परीक्षापछि परीक्षार्थीले प्राप्त गरेको अंक सम्बन्धित व्यक्तिको अनलाइन प्रोफाइलमा विज्ञले प्रविष्ट गरिदिने व्यवस्था छ । सोही प्राप्तांकका आधारमा छनोट समितिले योग्यताक्रम कायम गरी इजरायलबाट प्राप्त मागअनुसारभन्दा २५ प्रतिशत बढी उम्मेद्वारको नामवाली तयार गर्ने विभागले जनाएको छ ।
लिखित परिक्षाको सूचना निस्किएसँगै दरखास्तहरुको भेरिफिकेसन लगायतका काम भने अन्तिम चरणमा पुगेको विभागले जनाएको छ । साथै, परिक्षाको तयारी होस भन्ने मनसायले परिक्षाको सूचना निकालिएको बताइएको छ ।
|
श्रीलङ्कन एयरको काठमाडौं सिधा उडान काठमाडौं । श्रीलङ्कन एयरलाइन्सले भोलि मङ्गलबारदेखि काठमाडौं–श्रीलङ्का सिधा उडान गर्ने भएको छ । एयरलाइन्सलाई सातामा दुई उडानका लागि अनुमति दिइएको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।
उनका अनुसार श्रीलङ्कन एयरले गृष्मकालीन समयका लागि आगामी सेप्टेम्बर ४ तारिखसम्मका लागि उडान अनुमतिका लागि निवेदन दिएको छ । कम्पनीले अवस्था हेरेर शरदकालीन समयका लागि पनि उडान अनुमतिका लागि निवेदन दिनेछ । उक्त एयरलाइन्सले भैरहवास्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने इच्छा व्यक्त गरेको छ । भैरहवामा कम्तीमा एक उडान गर्नेछ । यो उडान दैनिक या सातामा भन्ने यकिन भइसकेको छैन ।
नेपालका लागि आधिकारिक ट्राभल एजेन्सी जेनिथ ट्राभल प्रालिका अनुसार रोजगारीका लागि श्रीलङ्का जाने नेपालीलाई लक्षित गरेर उडान सुरु गरिएको र यसले अवस्था सामान्य भएपछि पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्नेछ । हाल एयरलाइन्सले साउदी अरेबिया, कतारको दोहा, माल्दिभ्स र दुबई उडान गरिरहेको छ । एयरलाइन्सले आगामी सेप्टेम्बरदेखि जापान, अस्ट्रेलिया र लन्डनमा पनि उडान सुरु गर्ने योजना बनाएको छ । रासस |
विदेशको कमाई सबै लिएर टाप कसिन् विष्णुकी श्रीमती, बिचल्लीमा दुई बच्चा काठमाडौं। केही दिनअघि डिसी नेपालका एक प्रतिनिधिलाई अन्जान व्यक्तिको फोन आउछ, तपाई मिडिया हो भनि। त्यसपछि दुबैतर्फको वार्तालाप हुन्छ।
उनी आफ्नो दुःख सुनाउँदै सल्लाह सुझाव माग्छन् र न्याय दिलाई दिन आग्रह गर्छन्। उनी आफ्नो सबै वास्तविकता मिडियामार्फत उजागर होस् भन्ने चाहना राख्छन् र सबै घटनाहरु बेलिविस्तार लगाउँछन्।
उनी हुन्, गुल्मी धुर्कोट गाउँपालिका १ का ३३ वर्षीय, विष्णुबहादुर जिसी। उनी २०७६ सालमा रोजगारीको लागि दुबई गएका रहेछन्। दुबईमा भनेबमोजिम उनले कमाई गरिराखेकै थिए। तर, अचानक कसैले कल्पनासमेत नगरेको कोरोना संक्रमण फैलिन्छ र विश्वको मानव जीवनलाई तहसनहस पारिदिन्छ । कोरोनाले विष्णुलाई पनि असर नगर्ने त कुरै भएन।
उनी कोरोनाका कारण विश्वले अपनाएको लकडाउनले केही समय बेरोजगार हुन्छन् र आफ्नो देश नेपाल फर्किने प्रयास गर्छन्। अन्ततः गाउँमा श्रीमती र नाबालक दुई छोरा छाडेर गएका उनी गत २०७७ सालमा नेपाल फर्किन सफल हुन्छन्।
नेपालमा पनि ज्यालादारी काम गरिराखेका उनी विदेश भने दुई–चार पैसा बढी कमाई हुन्छ कि भनेर गएका रहेछन्। उनी भन्छन्, ‘मेरो बुवा आमा बितिसकेपछि म विदेश गएको हो। लकडाउनमा कम्पनीले काम पनि दिएन अनि त्यत्तिकै खाली बसे। त्यसपछि नेपालले हवाई उडानको लागि निःशुल्क टिकट गरेको बेला आउने प्रयास गरे तर कम्पनीले त्यति चासो लिएन अनि पछि आफै टिकट काटेर आएको हो।’
दुबईमा नगरपालिकाअन्तर्गत रहेर काम गरेका उनले त्यहाँ लकडाउनको समयमा धेरै समय बेरोजगार भएर बस्नु नपरेको बताए। जब काम ठप्प भयो त्यसपछि भने नेपाल आउने प्रयासमा लागिपरेको बताउँदै उनी भन्छन्, ‘कोरोनाले लकडाउन भएपछि त्यहाँ काम त्यति चलेन अनि नेपाल फर्केको। कमाइ त त्यहाँ अलिअलि हुन्थ्यो, बुझ्न हतार हुन्थ्यो अनि बुझेर नेपाल श्रीमतीलाई पठाइहाल्थे । राख्ने चलन थिएन। बुवा आमा हुनुहुन्न, बच्चाहरु स–साना थिए अनि श्रीमतीलाई नै कमाएको सबै पठाउने गर्थे।’
कामको बारेमा उनी भन्छन्, ‘दुबईमा घरघरमा जाने फोहोर उठाउने, बाटोमा फालिएको कागज लगायत यताउती टिप्ने काम गर्ने, त्यस्तै गरियो। तलब मासिक १२ सय (दिराम) थियो।’
विष्णुका अनुसार दुबईमा बसुन्जेल उनको कमाई करिब ८–९ लाख रुपैयाँ भएको थियो। तर, उनले सबै कमाई हतारिदै महिनैपिच्छे नेपालमा भएकी श्रीमतीलाई पठाइहाल्थे। अहिले उनीसँग विदेशमा कमाएको न त पैसा नै छ, न त घरमा श्रीमती नै। कारण, उनकी श्रीमती अर्कै केटासँग विवाह गरेर भागिसकेकी छन्।
उनी भन्छन्, ‘म विदेशबाट आएको ६ महिनामा उ (श्रीमती) हिँडेकी हो। म गत वर्षको पुस ३० गते नेपाल उत्रेको र उ गत साउनको ६ गते हिँडेकी हो। त्यत्रो पैसा पठाए, गाउँको ऋणसमेत १ रुपैयाँ पनि तिरेकै रहेनछ । विदेश जाँदा यता एकजना अंकलको पैसा लिएको थिए। उहाँलाई चाहीँ उतैबाट १ लाख उहाँकै नाममा हालिदिएकी थिए। अझै गाउँमा ४–५ लाख ऋण तिर्न छ।’
सामान्य परिवारका विष्णुको गुल्मीमा आफ्नो घर खेतीबारी सबै छ। उनी भन्छन्, ‘गुल्मीमा घर, खेतबारी छ। त्यसले खाना पुग्छ, घरमा धेरै दुःख त छैन। तरपनि दुई चार पैसा कमाई हुन्छ कि भनेर विदेश गएको थिएँ।’
घरमा ३२ वर्षीया श्रीमती र ४ र ६ कक्षा पढ्दै गरेका २ छोरा छोडेर दुबई उडेका विष्णुको घर यतिबेला उजाड भएको छ । श्रीमती भागेपछि
अहिले उनको परिवार उजाड भएको हो। साथै, विष्णुका अनुसार कमाएको सबै पैसा र गरगहनासमेत सबै लगेकाले आर्थिक समस्यासमेत भएको छ।
विष्णुका अनुसार विदेशमा बसेको बेला यता(नेपाल) मा श्रीमतीले फोनमार्फत अर्कै केटासँग कुराकानी गर्ने र त्यो केटालाई घरमा बोलाउने गर्ने गर्थिन्। एकदिन विष्णुले दुबईमै बस्दा एकजना केटामान्छेले घर छेउको सुन्तलाको बोटमुनी उभिएर खिचेको फोटो श्रीमतीले सेयर गरेको देखेपछि उनले सोधिखोजी गरेका रहेछन् । तर, श्रीमतीले सानीमाको छोरा हो भनेर टारेकी रहेछिन्।
उनी भन्छन्, ‘छिमेकीका अनुसार म विदेश गएपछि उ धेरै फोनमा झुल्थी रे। कहाँकहाँ गइराख्ने, घरमा एकछिन पनि नबस्ने गर्थी रे। अहिले उ गइसकेपछि छिमेकीले मलाई सुनाउँछन् । म विदेशमा भएको बेला केटा पनि घरमा बाइक लिएर आएको थियो रे। बाबुहरु(छोरा)ले पनि देखेका रहेछन् । को हो भन्दा मामा हो, गाउँतिरको सानीमाको छोरा हो भनेकी थिइ रे।’
उनी अगाडि भन्छन्, ‘हुनत म विदेशबाट आएपछि पनि दुई–तीन चोटी फोनमा कुरा गरेको थाहा पाएर को हो भनेर सोधेको थिएँ। तर, उसले दिदीबहिनी दाइभाइ भनेर यताउती भनेर टार्ने गर्थी । मैले पनि होला नि त भन्ठाने । कुरा गर्दैमा शंका गर्ने कुरा पनि भएन। म फेरि काममा बाहिर जाने, बेलुकी आउने र त्यो बेला कुरा गरेको भेटी हालेपछि उसले त्यसरी टार्ने गर्थी।’
श्रीमती भागिसकेपछि मात्र विष्णुले त्यसबेला अहिले भागेको केटासँग गफ गर्ने गर्दिरहेछ भन्ने थाहा भएको बताए। अहिले उनकी श्रीमतीले फेसबुकलगायत सबै कन्ट्याक्ट ब्लक गरेकी छन्। धेरै प्रयास गरेपछि पछिल्लो समय विष्णुले आफ्नो श्रीमती अर्घाखाँचीका रमेश भन्ने व्यक्तिसँग हिडेको थाहा पाएका रहेछन्। र, धेरै प्रयासपछि केहि नजिकका मान्छेहरुको फोन नम्बर र सूचनाहरु पत्ता लगाउन उनी सफल भए।
कतै भारतमा बेच्न त लगेका होइनन्?, भन्ने जिज्ञासामा विष्णु भन्छन्, ‘मलाई पनि त्यस्तै लागेको छ । मेरो श्रीमतीलाई पल्लो गाउँकै एकजना आइमाईले लिएर गएको रे। उसले लिएर गएर केटालाई हस्तान्तरण गरिदिएको रे, दिल्लीमा । अर्घाखाँचीको त्यो केटाले ड्राइभर काम गर्छ भन्दै थिए, म त चिन्दिन । केटाको नाम रमेश रहेछ । त्यो आइमाईको नाम चाहीँ सिता घर्ती जिसी हो, उसले केटालाई लगेर हस्तान्तरण गरिदिएकी हो रे।’
विष्णुका अनुसार पल्लो गाउँकी एकजना महिलाले उनकी श्रीमतीलाई फकाएर रमेश भन्ने केटालाई लगेर बुझाएकी रहेछिन्। ती महिलाले विष्णुलाई मोबाइलमा म्यासेजसमेत गरेकी रहेछिन्। विष्णु भन्छन्, ‘त्यो आइमाइले मैल मेरो फाइदाको लागि तेरो श्रीमतीलाई लिएर अएकी हुँ भनेर मलाई म्यासेज पठाएकी थिई। त्यो आइमाईको परिवार सबै इण्डियातिरै छन् रे। हाम्रो गाउँदेखि मास्तिर छ उसको गाउँ।’
पहिला पहिला सिता भन्ने ती महिलाले विष्णुको घरमै आएर पनि फोन गर्थीन् रे, रमेश भाई भनेर । ल हुन्छ केटीले मानेकी छे, म लिएर आउछु काम खोजेर राखिदिनु भनेर समेत ती महिलाले फोनमा कुराकानी गर्ने गरेको विष्णुलाई छिमेकीले पछि सुनाएका रहेछन्। उता विष्णु भने सबै कुरा मिलाएर गाउँकालाई फोनमा कुरा सुनाउँदै काम लगाइदिने भनेर अन्तै लगेको अशंका गर्छन्।
इण्डियाबाट श्रीमतीको दिदीको छोरी हुँ भन्ने एकजना महिलाले समेत विष्णुलाई म्यासेज र रमेश भन्ने केटासँग श्रीमती बसेको फोटोहरु पठाएकी रहेछिन् । विष्णु भन्छन्, ‘अहिले मसँग श्रीमती त्यो केटासँग सुते, उठेको सबै फोटो छ । भ्वाइस रेकर्ड पनि पठाएका छन्। यस्तो यस्तो गरिछे तेरो श्रीमतीले भनेर अरु महिलाहरुले पठाइदिएका छन्, मलाई।’
श्रीमती भगाउने सिता भन्ने महिलाले पठाएको म्यासेज र इण्डियाबाट दिदीको छोरी भन्ने महिलाले पठाएको फोटो आदि सबै पुलिसलाई दिएर श्रीमती हराएको रिपोर्ट विष्णुले लेखाइसकेका छन्। उनी भन्छन्, ‘सबै म्यासेस स्क्रिनसट गरी फोटोकपी गरेर प्रहरीलाई बुझाएको छु । प्रहरीलाई हुलिया दिएको छु, हराई भनेर।
तरपनि विष्णु चाँडोभन्दा चाँडो वास्तविकता बाहिर ल्याउन चाहन्छन्। उनी भन्छन्, ‘म यहाँ (नेपाल) पनि मित्री काम गर्छु, अनि काममा गएको बेला भागेर हिँडिछे। त्यसलाई फेरि राख्ने कुरो त हुँदैन तर खोज तलास गरेर यस्तो ठाउँमा छे, यस्तो छ भनेर थाहा दिने र क्षतिपूर्ति लिने हो।’
उनी अगाडि भन्छन्, ‘गहना, पैसा सबै लिएर गएकी छे। त्यत्रो विदेशमा कमाएको धन सम्पत्ति हिनामिना पारेकी छे । त्यो पनि पूर्ति गर्नु पर्यो। मैले त भेट्टाएसम्म क्षतिपूर्ति लिने अनि छोडिदिने भन्ने छ । लगभग १० लाखको क्षतिपूर्ति छ। मैले विदेशमा कमाएको सबै पैसा हिनामिना गरेकी छे। छोराहरु पनि आमा गएपनि जाउन तिनलाई अब ल्याउने काम छैन भन्छन क्यारे।’
‘दुबईमा खाता खोल्न नमिल्ने, नेपालमा खाता खोलेर गएर आफ्नो खातामा हालेको भए राम्रो हुने रहेछ। अब होला त गर्ली, घर खर्च गरेर ऋण तिर्ली भनेर कमाएको सबै पैसा पठाइदिए, विश्वास गरेर। अब विश्वासघात गर्नेलाई दैवले पनि छोडिदिने रहेछन, के गर्ने?’, भन्दै विष्णु दुखेसो गर्दै पुनःभन्छन्, ‘बाबुहरु पनि खेल्ने, पढ्ने उमेरमा छोडेर गई । गहना, पैसा सबै लगेर गई।’
विष्णुलाई प्रहरीले श्रीमतीलाई लगेकी महिलालगायतलाई झिकाएर थुनामा राखी सबै कुरा खुलस्त पार्ने बताएका रहेछन् । उनी भन्छन्, ‘प्रहरीलाई मलाई म्यासेज गरेको त्यो आइमाईको फोन नम्बर दिएको थिए र त्यो नम्बरमा फोन गर्दा केटा मान्छेले उठाएको थियो। म पुलिस प्रशासनबाट बोलेको भन्नासाथ उसले फोन काटेर स्वीच अफ गरी हाल्यो।’
उनी अगाडि भन्छन्, ‘अब प्रहरीले तपाईको निवेदन माइती नेपालमा दिन्छौं । माइती नेपालले खोजेर ल्याउछ। भारतस्थित नेपाली दूतावासबाट खोजतलास हुन्छ, टेन्सन नगर्नुस भनेर भन्नु भएको छ।’
|
गैरआवासीय नेपाली संघ टेक्सस च्याप्टरको पदस्थापन काठमाडौं । गैरआवासीय नेपाली संघ (टेक्सस) च्याप्टरको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ। शनिबार अर्भिंग सिटीमा आयोजना भएको कार्यक्रममा च्याप्टरका निवर्तमान अध्यक्ष राजेश अर्यालले नव निर्वाचित अध्यक्ष शोफीन थापालाई पद हस्तान्तरण गरेका हुन्।
नवनिर्वाचित सच्याप्टरको उपाध्यक्षमा गंगादत्त शर्मा, सचिवमा चण्डी भण्डारी, सहसतिवमा राजन भट्टराई र कोषाध्यक्षमा दिलिप कुमार बस्नेत रहेका छन्।
महिला संयोजकमा मनिता मानन्धर, युवा संयोजकमा बासुदेव केसरी रहेका छन् भने सदस्यहरुमा रोहित विक्रम केसरी, टंकमणि घिमिरे, भवन सुवेदी, निश्चल चापागाईँ, छविलाल हुमागाईँ, सन्तोष लम्साल रहेका छन्।
पदस्थापन कार्यक्रममा न्यूयोर्कमा भएको भलिबल प्रतियोगितामा प्रथम भएको टेक्सस टिमलाई सम्मन पनि गरिएको थियो।
कार्यक्रममा एनआरएनए आईसीसीका सचिव गौरीराज जोशी, क्षेत्रीय उपसंयोजक राम सी पोखरेल, एनआरएनए अमेरिकाका उपाध्यक्ष विकास उप्रेती, एनआरएन अमेरिकाका पूर्व अध्यक्ष सुनिल साह, नेपाली समाजका पूर्व अध्यक्ष कृष्ण लामिछाने, एएनएका अध्यक्ष विजयराज भट्टराई लगायतले नवनियुक्त समितिलाई शूभकामनासमेत दिएको थिए ।
|
उपेन्द्र महतो र एनआरएनएलाई सगुनको धन्यवाद (भिडियोसहित) वाशिंटन डिसी । गैरआवासीय नेपालीहरुको लगानी रहेको उदाउँदो समाजिक सञ्जाल एप सगुनले गैरआवासीय नेपाली संघ (एनआरएन) लाई धन्यवाद दिएको छ । सगुनले आफ्नो यात्रालाई सहज बनाइने र साथ दिने धेरै प्रिय पात्र रहेको उल्लेख गर्दै गैर आवासीय नेपाली संघका स्थापनाकालदेखिका पदाधिकारी तथा सदस्यहरु एवं गैरआवासीय सम्पूर्ण नेपाली समुदायमा धन्यवाद ज्ञापन गरेको हो ।
सगुनका सहसंस्थापक कविन्द्र सिटौलाले गैरआवासीय नेपाली संघका सस्थापक अध्यक्ष उपेन्द्र महतोले सगुनप्रति भरोसा गरेको भन्दै महतोले सगुनबारे बोलेका कुराहरुसमेत भिडियोमा राखेर धन्यवाद दिएका हुन् ।
संस्थापक अध्यक्ष महतोले सगुनजस्तो एपको माध्यमबाट गैरआवासीय नेपालीले आफ्नो क्षेत्रबाट नेपाललाई चिलाउने काम गरिरहेको भन्दै खुशी व्यक्त गरेका थिए । ‘तपाईंले सगुनलाई कमाउने अवसर दिँदा त्यो कमाइको निश्चित प्रतिशत तपाईंले नै पाउने हो,’ महतोले भनेका छन्, ‘त्यो प्रतिशत धेरै नहुन सक्छ । विशेष गरी सामाजिक संजालले दिएको यस्तो अवसरलाई सदुपयोग गर्नुपर्छ ।’ सगुन नेपालीकै उत्पादन भएको कारण यसलाई नेपालीले विशेष साथ दिनुपर्ने बताएका छन् । नेपालीले साथ दिए विदेशीहरुले पनि साथ दिने उनको भनाइ थियो ।
सगुनका सहसंस्थापक सिटौलाले एनआरएनका संस्थापनहरुले नै एनआरएनले स्थापना गर्दा नै सगुनजस्तो एनोभेटिभ महत्वपूर्ण र नेपाललाई विश्वसमा चिनाउने परियोजनाहरु जन्माउनुपर्छ भन्ने परिकल्पना गरेको उल्लेख गर्दै एनआरएनका संस्थापनहरुले सगुनको स्थापनाकालदेखि नै सहयोग र सद्भाव देखाएको भन्दै एक भिडियो सन्देशमा धन्यवाद दिएका छन् ।
परिकल्पना, विश्वास र साहस बोकेर रचनात्मक सहयोगका लागि विदेशी भूमिमा होमिएका समृद्धिका अभियानकर्तालाई एनआरएनको ठूलो प्रेरणा प्राप्त भएको उल्ल्लेख गर्दै सिटौलाले यो क्रम निरन्तर जारी रहने विश्वास व्यक्त गरेका छन् । |
श्रमिकलाई लाखौँ ठगी गुमनाम हुने आँट कहाँबाट आउँछ म्यानपावर व्यवसायीलाई? केही समय अघि म्यानपावर व्यवसायीबाट ठगिएका एक युवा वैदेशिक रोजगार विभागमा भेटिए। उनी म्यानपावर व्यवसायीले गरेको ठगीलगायतका अनेक झमेलामा परेकाले त्यहाँ पुगेका थिए।
उनी भन्दै थिए, ‘मैले त हातै छोडेँ म्यानपावरको मान्छेलाई। त्यही भएर मसँग लिएको साढे तीन लाख रुपैयाँमा ४० हजार बाहेक सबै फिर्ता दियो।’
उनले व्यवसायीमाथि हात छोडेकाले र मन्त्रालयसँग सामान्य पहुँच भएकाले दिएको पैसामा केही फिर्ता पाएको बताए। उनका अनुसार उनीसँग सिनामंगलस्थित एक म्यानपावरले दुबई रोजगारीमा पठाउनको लागि त्यति धेरै पैसा लिएको थियो। साथै, म्यानपावरले पैसा लिएर पनि विदेश नउडाएर अनेक बहाना पार्दै झुलाइराखेकाले बाध्य भएर ती युवाले म्यानपावर व्यवसायी माथि जाइलागे।
तर, व्यवसायीमाथि जाइलाग्दा समेत उनले दिएको पासपोर्टलगायतका डकुमेन्ट र पैसा भने तुरुन्तै पाउन सकेनन्। अन्ततः उनले गृहमन्त्रीसँग चिनजान भएका व्यक्तिमार्फत पहल गरिदिन आग्रह गर्नु पर्याे।
उनी भन्छन्, ‘मैले त विभाग र गृहमन्त्रीबीच फोन गराएको थिएँ। अनि उनीहरु (म्यानपावर व्यवसायी) ले विभागमा मान्छे पठाए र मेरो पासपोर्टलगायतका डकुमेन्टहरु ल्याएर सम्झौता गराएर फिर्ता दिएका हुन्। तर श्रम चाहिँ रद्द गरेको थिएन, त्यो भएर फेरि यहाँ (विभागमा) आएको हुँ।’
उनी अगाडि भन्छन्, ‘म्यानपावरले श्रम नै क्यान्सिल गरेको छैन। श्रम क्यान्सिल नगरेकाले म अर्को देश उड्नै सकिराखेको छैन। त्यसको लागि फेरि विभाग आएको हुँ। अहिले श्रम क्यान्सिल गर्न मानिराखेको छैन। यो भाइले गर्दा विभाग आउनु पर्यो भनेर रिसिभी साँधेका छन्। अब मेरो यहाँ १० मिनेटको मात्रै काम हो। साइन मात्रै गर्नु पर्ने छ तर उसले गर्नै खोजेको छैन।’
पीडक म्यानपावर व्यवसायीले ति पीडित युवाका कारण विभागमा आउनु परेकाले बेइजत भएको बताउँदै आएका रहेछन्। तर, फ्रि भिसा, फ्रि टिकटमा लाखौं उठाउने र त्यसमाथि विदेश पठाउन भोलिभोलि भन्दै वर्षौंसम्म पनि नपठाएर ठगी गर्ने प्रवृत्तिप्रति म्यानपावर व्यवसायीहरु आफै लज्जित हुनु पर्ने होइन र?
अन्ततः अर्को देश उड्ने तयारीमा रहेका ती युवाले म्यानपावरले दिन बाँकी ४० हजार रुपैयाँको भने विस्मत नलागेको बताए। वैदेशिक रोजगारीको नाममा म्यानपावरले धेरै युवाहरुलाई ठग्दा रहेछन भन्ने कुरा ती युवाले विभागमा आएपछि छक्क परेको बताए।
‘मेरो श्रम गर्दा खर्च भयो भनेर ४० हजार चाहिँ फिर्ता नदिएको हो’, उनी भन्छन्, ‘यहाँ(विभाग) आएको त धेरैजना ठगिएका रहेछन्। यिनी (विभागमा आएका अन्य पीडितलाई देखाउँदै) हरुलाई हेरिकन मेरो त केही होइन रहेछ, यसमा म त आफूलाई भाग्यमानी सम्झिराखेकी छु। म जस्तो ठगिएका कति मान्छे यहाँ आउँदा रहेछन्। हुन त म्यानपावरले गर्दा कति जना त सामान गिर्बी राखेर होटलमा बसेका छन्। मैले पनि मोबाइल राखेर होटलमा बसिराखेको थिए अनि पैसा फिर्ता पाएपछि तिरेको हो।’
त्यसैगरी गत बुधबार एक पीडित बाबुछोरा विभागमा उजुरी दिन भन्दै तमसुक र चेक बोकेर पुगेका थिए। झापाका उनीहरुलाई पनि बुद्धनगरस्थित एक म्यानपावरले डेढ वर्षदेखि झुलाइराखेको रहेछ। त्यो म्यानपावरले छोरालाई रोजगारीमा पोल्याण्ड पठाउछु भनेर कोरोना संक्रमण फैलिनुभन्दा अघि नै ९ लाख ५० हजार रुपैयाँ लिएको रहेछ।
तर, अझैसम्म पनि न त विदेश नै पठायो, न त पैसा नै फिर्ता दियो। पैसा फिर्ता गर्छु भनेर झुलाइराखेकाले ति बुवाछोरा अति भएपछि विभाग आएका रहेछन्। बुद्धनगरस्थित म्यानपावरले झापाका ति युवासँग तमसुक गरी तथा ९ लाख ५० हजारको चेक दिएर विश्वासमा पारी पैसा लिन सफल भएको रहेछ।
पछिल्लो समय भोलि पैसा फिर्ता दिन्छु भन्दैभन्दै वर्षाैं बितिसकेछ तर पैसा फिर्ता पाउने छाटकाट नदेखेपछि उनीहरु समय गुज्रिएको तमसुक र चेक लिएर विभाग आएका रहेछन्। विभागमा महानिर्देशकसँग सिधै गएर कुरा राख्ने सोचले आएका उनीहरु महानिर्देशकको पद रिक्त रहेको थाहा पाएपछि दुई–चार दिनमा उजुरी दिने भन्दै फर्किएका थिए।
ती युवा भन्दै थिए, ‘डेढ वर्ष भयो ९ लाख ५० हजार दिएको हो। कागज गरेर दिएको हो र उसले चेक पनि ९ लाख ५० हजारको दिएको छ। तमसुक भएपछि विश्वास भयो, त्यसमाथि चेक पनि दिएको छ। अहिले फोन गर्याे भने उठाउछ र भोलि भोलि भन्छ तर पैसा दिँदैन।’
दिनकै जस्तो वैदेशिक रोजगारीको नाममा लाखौं रुपैयाँ ठगी गर्ने म्यानपावरविरुद्ध विभागमा जाने उजुरीको चाङमध्ये माथिका दुई पीडित युवा त प्रतिनिधि पात्र मात्रै हुन्। वैदेशिक रोजगारीका नाममा ठगिएर न्यायको लागि विभागमा कयौं युवाहरु दैनिक भेटिन्छन्।
आखिर किन म्यानपावर व्यवसायीहरु ठगी धन्दा गरिराखेका छन् र युवाहरु ठगिइराखेका छन्? विभागमा उजुरी दिन पुगेका युवाहरुको जमातलाई हेर्दा यसप्रति सरकारको ध्यान किन नगएको भन्ने जिज्ञासा जो कोहीले सहजै अनुमान लगाउन सक्छ।
अर्कोतिर, वैदेशिक रोजगारमा पठाउने इजाजत पाएका म्यानपावरहरुलाई २ करोडदेखि ६ करोडसम्मको धरौटीको व्यवस्था गरेको सरकारले व्यक्तिगत तथा अवैध संस्थाबाट समेत वैदेशिक रोजगारको नाममा हुने गतिविधिलाई रोक्न नसकेका कारण पनि ठगीका केसहरु दिनप्रतिदिन बढ्दै गइराखेको छ।
वैधानिक र अवैधानिक संस्थाबाट विदेश उडेका र उड्न चाहनेहरु दिनदिनै अनगिन्ती संख्यामा ठगिइराखेका हुन्छन्। वैदेशिक रोजगारीमा जान चाहने युवाहरुलाई सचेत र ठगी गर्ने संस्थालाई कडाभन्दा कडा कारवाही नगरेकाले पनि देशमा पीडकका गतिबिधिहरु मौलाईरहेका छन्।
अझ भन्ने हो भने म्यानपावर व्यवसायीहरु नै राजनीतिक व्यक्तित्व भएका कारण उनीहरुले सोझासाझा युवाहरुलाई लाखौं ठगि पीडित बनाइराखेका छन्। यस्ता व्यवसायीहरुले सरकारको आडमा वैदेशिक रोजगारीमा जान चाहने युवाहरुलाई मर्नु न बाच्नुको अवस्थासम्म पुर्याएका छन्। विभागमा पुगेका पीडित युवाहरुका अनुसार धेरैजना व्यवसायीहरु पार्टीअन्तर्गतका डन, राजनीतिक व्यक्तित्व आदि भएका कारण चर्को ब्याजमा ल्याएर बुझाएको पैसा नउठेको गुनासो गर्छन्।
साथै, कतिपय म्यानपावरले भने बठ्याई गरी अवैधानिक तरिकाले पैसा असुल्ने अर्थात् विभागमा उजुरी दिँदा पनि विभागमार्फत पैसा फिर्ता लिन नमिल्ने तरिका अपनाई झुक्याएर युवाहरुसँग पैसा लिने गर्छन् । जसले गर्दा विभिन्न मुद्दा मामिला गरी लामो प्रक्रियामा जानु पर्ने कारणले उल्टै पीडित झन पीडित हुन पुगिराखेका छन्।
अन्ततः सरकारले युवाहरुलाई दलालहरुको ठगीमा पर्ने, मानव तस्करी तथा बेचबिखनमा पर्ने, रोजगार पाउनको लागि तोकिएभन्दा धेरै रकम तिर्नुपर्ने, रोजगारको क्रममा शारीरिक, आर्थिक मानसिक वा अन्य शोषणमा पर्ने जस्ता जोखिमबाट बचाउन राजनीतिमा संलग्न व्यक्ति वा आफन्त नै किन नहोस त्यस्तालाई कारवाहीको दायरामा ल्याउन हात कमाउनबाट पछि हट्नु हुँदैन। अनि मात्र वैदेशिक रोजगार पारदर्शी हुन्छ। जसप्रति सरकारले बेलैमा ध्यान जाओस्। |
इराकमा कोरोनाका कारण एक नेपाली महिलाको मृत्यु काठमाडौं । इराकको कुर्दिस्तानमा कोरोना भाइरस संक्रमणका कारण एक नेपाली महिलाको मृत्यु भएको छ । वैदेशिक रोजगारका लागि त्यहाँ पुगेकी दोलखाकी पेमडिकु शेर्पाको गत मंगलबार निधन भएको हो ।
कोभिडको संक्रमणपछि अर्बिलको एक अस्पतालमा उपचार गर्ने क्रममा उनको अस्पतालमै मृत्यु भएको बताइएको छ । |
वैदेशिक रोजगार विभागको महानिर्देशकमा दिपक काफ्ले काठमाडौं । वैदेशिक रोजगार विभागको महानिर्देशकको कार्यभार दिपक काफ्लेले समाल्ने भएका छन्। श्रोतका अनुसार केहि दिनदेखि रिक्त रहेको विभागको महानिर्देशकको कार्यभार आज(बिहीबार)देखि काफ्लेले समाल्ने भएका हुन्।
काफ्ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सह–सचिव एवं प्रवक्ता हुन्। विभागका एक कर्मचारीका अनुसार काफ्लेले आज साढे १० बजेदेखि विभागको कार्यभार समाल्ने छन्।
दिनकै ठगीलगायतका उजुरीका चाङ लाग्ने ठाउँ विभागमा दुई–चार दिन महानिर्देशक नहुँदा कतिपय निर्णायक कार्यहरुमा असर परेको थियो। काम विशेषले विभागमा पुगेका कतिपय सर्वसाधारणसमेत महानिर्देशकको पद रिक्त रहेको थाहा पाएपछि आधाकारिक व्यक्ति आएपछि आउछु भन्दै फिर्ता हुने गर्थे।
यसअघि विभागको महानिर्देशकमा कृष्णप्रसाद दवाडी थिए। गत बैशाख ५ गतेदेखि विभागको नेतृत्व समालेका दवाडी उमेरहदका कारण यहि भदौं ५ गते विभागबाट विदा भइसकेका छन् । उनले विभागको नेतृत्व चार महिना मात्रै समालेका थिए। |
टेक्सासमा सञ्चालित नेपाली पाठशालाका कक्षा आगामी हप्ता देखि शुरु हुने टेक्सास । नेपाली समाज टेक्सासले सञ्चालन गर्दै आएको Fall Session कक्षा आगामी हप्ता(अगष्ट २८) बाट शुरु हुने भएकाे छ । Fall Session कक्षामा भर्ना हुन सम्पूर्ण नेपालीहरुलाई नेपाली पाठशालाका प्रिन्सिपल विजयराज भट्टराइले अनुरोध गरेका छन्। पाठशाला अनलाइन सञ्चालन हुँदै आइरहेको छ।
यस स्कूलमा बाल-बालिकाहरुलाई बिभिन्न ६ बिषयमा ७ शिक्षकहरुले अनलाइन पढाउने गरि तयारी गरिएको जानकारी स्कूलका प्रिन्सिपल विजयराज भट्टराइले गराए। बिगतका सेसनहरु झैँ यसपटक पनि यो अनलाइन स्कूल संसार भरिका जो सुकै नेपाली बालबालिकाहरु पनि सहभागी हुनसक्ने व्यवस्था गरिएको छ।
स्कूल भर्ना गर्नको निमित्त याे लिङ्कमा क्लिक गरेर फर्म भरेर, प्रति बिषय, प्रति बिद्यार्थी $२५ . ०० शुल्क तिर्नुपर्नेछ।
|
सामाजिक अभियानकर्मी डा विष्णुमायाका बारेमा विश्वव्यापी पढाइ हुँदै काठमाडाैं । सामाजिक अभियानकर्मी डा विष्णुमाया परियारका बारेमा विश्वव्यापी कलेजका पाठ्यपुस्तकमा पढाइ हुने भएको छ। अमेरिकी प्रकाशक म्याकग्रो हिलले डा लिसा राइट होफ्नरद्वारा लिखित ‘दि राइटर्स माइण्डसेट’ पुस्तकमा डा परियारको जीवन सङ्घर्षको कहानी प्रकाशन गरिएको छ।
उक्त पुस्तकका ६९२ पृष्ठमध्ये डा परियारको कहानी पृष्ठ ५९१–५९४ बीच चार पृष्ठमा समावेश गरिएको युएस नेपाल अनलाइनका सम्पादक प्रदीप परियार थापाले जानकारी दिए। विश्वमै अग्रणी मानिने म्याकग्रो हिल पब्लिकेशनको पाठ्यपुस्तक अमेरिकामा मात्र होइन, विश्वका १०० भन्दा बढी मुलुकका हाइस्कूल, कलेज र विश्वविद्यालयमा पढाइ हुन्छ।
सन् २०२० को तथ्याङ्कअनुसार हाल यो पब्लिकेशनको ४३ लाख बढी सशुल्क पाठ्यपुस्तक किन्ने विद्यालय, विश्वविद्यालय, विद्यार्थी र प्रोफेसर छन्। यो पाठ्यपुस्तकमा ५२ जनाको आलेख र जीवन कहानी समावेश छन्। अमेरिकी सामाजिक अभियानकर्मी डा विष्णुमाया हाल जर्सीसिटी सहरको रोजगारी र तालिम कमिटीको सदस्यसमेत हुन्।
डा विष्णुमायाको पहलमा सन् २०१९ मा जर्सीसिटी सहर र नेपालको इन्द्रावती गाउँपालिकाबीच सिस्टर सिटी कायम गरिएको छ भने सन् २०१७ मा उनकै नेतृत्वमा जर्सीसिटीको सिटी भवनमा नेपालको झण्डा फहराइएको थियो। डा विष्णुमाया एनआरएनए आइसिसीको वर्तमान निर्वाचन आयुक्त, ग्लोबल गोर्खा समाजको संरक्षक र एड्वान संस्थाको संस्थापक अध्यक्ष पनि हुन्।रासस |
वैदेशिक रोजगार विभागका महानिर्देशक दवाडीको अवकाश काठमाडौं । वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दवाडी सेवा निवृत्त भएका छन् । बैशाख ५ गते विभागको नेतृत्वमा आएका दवाडी उमेरहदका कारण यहि भदौं ५ गते विभागबाट विदा भएका हुन् ।
उनी चार महिनाको कार्यकाल सकेर सेवा निवृत्त भएका हुन् । दवाडीको अवकाशपछि अब विभागमा नयाँ महानिर्देशक को हुने भन्ने विषयमा चर्चा सुरु हुन थालेको छ । विभागका एक कर्मचारीले भने, ‘विभागमा त्यसरी पद खाली त नराख्नु पर्ने हो तर गत आइतबार र सोमबार सार्वजनिक विदा परेकाले नयाँ महानिर्देशकको निर्णय भइनसकेको हुनसक्छ ।’
ती कर्मचारीका अनुसार हालसम्म विभागमा अब को महानिर्देशक हुने भन्ने निर्णय भइसकेको छैन । दवाडीले यसअघि वैदेशिक रोजगार कार्यालय ताहाचलको प्रमुख र साउदी अरबस्थित नेपाली दूतावासको श्रम काउन्सिलरको जिम्मेवारीसमेत सम्हालेका थिए । |
बेलायतमा १२औँ नेपाली मेला हुँदै लण्डन । प्रत्येक वर्षजस्तै यस वर्ष पनि बेलायतमा नेपाली मेला हुँदैछ। कोरोना महामारीका कारण गत वर्ष स्थगित मेला यस वर्ष आउँदो साता सम्पन्न गर्न लागेको तमुधिं युकेले जनाएको छ। बेलायतमा सबैभन्दा धेरै नेपाली सदस्य रहेको परोपकारी संस्था तमुधिं युकेले लण्डनस्थित नेपाली दूतावाससँगको सहकार्यमा मेला गर्न लागिएको जनाएको छ।
नेपाली संस्कृति, कला र पहिचानलाई जहाँ पुगे पनि जगेर्ना गर्नुपर्छ भन्ने मूल उद्देश्यका साथ गरिन लागिएको नेपाली मेलामा यसपटक पनि नेपाली जातजातिका वेषभूषा र झाँकी प्रदर्शन गरिने तमुधिं युकेले जनाएको छ। नेपाली मेलाको उद्घाटन बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले गर्ने र उक्त दिन लाग्ने खर्चमा नेपाली दूतावासले पनि आर्थिकरूपमा सहयोग गर्ने बताइएको छ। सार्क राष्ट्रबाट बेलायतमा दूतावास हुने देशहरूका कूटनीतिक प्रतिनिधिलाई निमन्त्रणाका लागि नेपाली दूतावासले जिम्मा लिएको छ।
यही अगस्त १९ तारिखबाट बेलायतमा बन्दाबन्दी खुले पनि मास्क लगाउन यहाँको सरकारले अनुरोध गरेका कारण मेलामा पनि सबैलाई अनिवार्य मास्क लगाएर आउन अनुरोध गरिएको छ। नेपाली कला र संस्कृतिका साथै नेपाली वस्तु र खानाहरूको बिक्री वितरणका लागि स्टल रहने जनाइएको छ । गत वर्षहरूमा झै यस वर्ष पनि दूतावासको तर्फबाट एक स्टल राखेर नेपाललाई चिनाउने पर्यटकीय दृश्य तथा नेपालसम्बन्धी जानकारी दिइने नेपाली दूतावासको योजना रहेको दूतावासले जनाएको छ।
मेलामा झाँकी र नृत्य दुवैमा प्रथम हुने समूहलाई एक हजार एक सय पाउण्डसहित ‘एम्बासडर कप’ र प्रथम हुनेलाई अतिरिक्त ३०० पाउण्डको ‘एनआरएनए युके कप’ पनि दिइने बताइएको छ।
झाँकीतर्फ प्रथम हुनेलाई ५०० र दोस्रो हुनेलाई ३०० तथा नृत्यमा प्रथम हुनेलाई ५०० पाउण्ड र दोस्रो विजेतालाई ३०० पाउण्ड प्रदान गरिनेछ । मेलाका लागि नेपाली दूतावासबाट दुई हजार ५०० पाउण्ड सहयोग प्राप्त भएको तमुधिँ युकेले जानकारी दिएको छ।रासस |
आदिवासी चलचित्र अवार्ड जा मनः गुभाजुलाई न्युयोर्क । नेपाल आदिवासी चलचित्र (निफ) अवार्ड नेवार भाषाको चलचित्र जा मनः गुभाजुले जितेको छ । अमेरिकाको न्युयोर्कमा दुई दिनसम्म भएको तेस्रो नेपाल आदिवासी चलचित्र महोत्सवमा सहभागि विभिन्न भाषाका सातवटा चलचित्र मध्ये नेवारी भाषाको चलचित्र गुभाजुले उत्कृष्ट आदिवासी चलचित्र अवार्ड जितेको हो ।
पुरस्कृत नेवारी चलचित्रले अवार्डसहिस १ हजार १ सय ११ डलर नगद पुरस्कार पनि जेतेको छ । नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाका अध्यक्ष लोक चेम्जोङ र न्युयोर्कस्थित नेपाली महाबाणिज्य दूत विष्णुप्रसाद गौतमले संयुक्त रुपमा पुरस्कार हस्तान्तरण गरेका थिए ।
आइतबार राती अबेरसम्म सञ्चालन भएको अवार्ड वितरण समारोहमा उत्कृष्ट चलचित्रसहीत विभिन्न १० विधामा पुरस्कार वितरण गरेको थियो । सो क्रममा नेवारी चलपचत्र जा मनः गुभाजुले उत्कृष्ट पटकथा र उत्कृष्ट अभिनेताको पुरस्कार पनि हात पारेको छ । यसैगरी उत्कृष्ट नायिकामा मगरभाषाको चलचित्र ट्याङचालकका नायिका तिला मगरले अवार्ड जितेकी छिन् भने लिम्बु जातिको के चलचित्रले उत्कृष्ट कथा, ह्योल्मो जातिको मेटोकले उत्कृष्ट छायाँकन र दर्शक रोजाईको पुरस्कार जितेको छ । यसैगरी तामाङ जातिको प्रङ्ना चलचित्रलाई उत्कृष्ट भेषभुषा पुरस्कार र गुरुङ जातिको चलचित्र मि होर्वै टले उत्कृष्ट संगीत र उत्कृष्ट निर्देशनको अवार्ड हात पारेका छन् ।
२७ औं विश्व आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ (फिप्ना) अमेरिकाले आदिवासी जनजातिको भाषा, भेषभुषा, संस्कृतिको संरक्षण र संवद्र्धनमा सहयोग पुर्याउने उदेश्यले महोत्सब आयोजना गरेको बताइएको छ । अवार्ड वितरण समारोहमा युवाहरुको संगीतिक ढुकढुकी गायकद्धय राजु लामा र जगदिस समालले आफ्नो चर्चित गीतहरु प्रस्तुत गरी मध्येरातीमा पनि दर्शकहरुलाई मनोरन्जन दिएका थिए । यस्तै विभिन्न आदिवासी समुदायका साँस्कृति झल्किने गीत र नृत्यहरु समेत प्रस्तुत गरेका थिए । |
एनआरएनएको सहयोगमा कुवेतमा अलपत्र द्रौपतीको शव आइपुग्यो नेपाल काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)कुवेतले आर्थिक संकलन अभियान चलाएर कुवेतमा अलपत्र परेको मोरङकी द्रौपती माझी चौधरीको शव नेपाल पठाएको छ । एनआरएनको सहयोगमा मृतक चौधरीको शव नेपालस्थित परिवार भएको ठाउँसम्म हिजो(आइतबार) राति आइपुगेको हो ।
मोरङ जिल्ला, बुढी गङ्गा गाउँपलिका वाड नं.७ (डङ्ग्राहा टोल) बस्ने द्रोपती चौधरी करिब ४ बर्ष पहिले भारतको बाटो हुँदै लुकिछिपी घरेलु कामदारको रुपमा कुवेत पुगेकी थिइन् । उनले दुई हप्ता अगाडि झुन्डिएर आत्माहत्या गरेकी थिइन् ।
वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले नेपालबाट श्रम नगरी विदेश गएर विदेशमै मृत्यु भएको खण्डमा मृतकको शव तथा बोर्डबाट पाउने कुनै पनि सेवा सुविधा नदिने हुँदा उनको शव अलपत्र परेको थियो । त्यसपछि एनआरएनए कुवेतले अलपत्र परेको शव नेपाल पठाउन आर्थिक संकलन अभियान सुरु गरेको थियो ।
केहि दिन अघिदेखि उनको शब नेपाल पठाउनका लागि आर्थिक सहयोग गर्न एनआरएनए कुवेतले अपिल गरेको थियो । अवैधानिक तरिकाले गएकी चौधरीको शव नेपाल पठाउन एनआरएनए कुवेतका उपाध्यक्ष उमेश पुडाशैनीको संयोजकत्वमा ‘आर्थिक राहत संकलन समिति’ गठन गरिएको थियो ।
शव नेपाल पठाउन आवश्यक पर्ने ३ सय ८५ कुवेती दिनार सहयोग गर्न एनआरएनएले सबैसँग अपिल गरेको थियो । सहयोगको अपिल गर्दै संघका अध्यक्ष रणध्वोज लामा र महासचिव दिल कुमार पाख्रिनले विज्ञप्तिसमेत जारी गरेका थिए ।
र, आर्थिक सहयोग संकलन सम्पन्न गरी चौधरीको शव नेपाल पठाइएको हो । साथै, सहयोग अभियानमा जोडिएका सहयोगी हातहरुलाई एनआरएनए, कुवेतले धन्यवाद व्यक्त गरेको छ । दूतावासले मृतक चौधरीको शव यहि अगस्ट–२२ तारिख राति नेपाल पठाएको थियो । |
नेपाललाई टिपिएसको लागि पुन: नियुक्त ‘रिडेजिग्नेट’ गर्न ४४ जना कँग्रेसका सदस्यहरुको बाइडेन प्रशासनलाई आग्रह वाशिङ्टन, डिसी । अमेरिकी जनप्रतिनिधिहरूले अमेरिकामा टीपीएस स्टाटसमा बसिरहेका नेपालीहरूका पक्षमा एक पत्र लेख्दै अमेरिकी सरकारलाइ घच्धच्याएका छन्।
नेपालीहरूसमेत आप्रवासीहरूकाे हितमा कार्यरत संस्था अधिकारकाे पहलमा ४४ जना जनप्रतिनिधिहरूले टीपीएस स्टाटसमा रहेका नेपालीहरूका पक्षमा सरकारलाइ पत्र लेखेका हुन्।
हाउस रेप्रेजेन्टेटिभ निडिया भेलास्क्वेज (न्यू योर्क – ७) र सेनेटर चक शुमर (न्यू योर्क) को नेतृत्वमा शुक्रबार, अगस्ट २० तारिख ४४ जना कँग्रेसका सदस्यहरुले डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्यूरिटीका सक्रेटेरी आलेक्जान्डर मायोर्कास र स्टेट डिपार्टमेन्टका सेक्रेटेरी एन्थोनी ब्लिन्किनलाई एक पत्र लेखेर नेपाललाई १८ महिनाको लागि टिपिएस (Temporary Protected Status) को लागि नवीकरण र पुन: नियुक्त (“रिडेजिग्नेशन” – २०१५ पछि आएकाहरु पनि समावेश हुने) गर्न आग्रह गरेका छन्।
टिपिएसले संयुक्त राज्य अमेरिकामा रहेका, र सुरक्षित रुपमा आफ्नो देश फर्कन नसक्ने कागजपत्र विहिन लगायत अन्य गैर नागरिकहरुको जीवन बचाउने महत्वपूर्ण सुरक्षाहरु दिन्छ।
अधिकारको नेतृत्व द्वारा बृहत अभियानको एक हिस्सा स्वरुप हाउसका रेप्रेजेन्टेटिभहरु चु, मेङ्, ओकेजियो कोर्टेज, जयापाल, र सेनेटर भ्यान होल्लनले सह नेतृत्व लिनु भएको सो “डियर कोल्लिग्स” पत्रमा नेपालको हालको स्थितिलाई हेरेर नेपाललाई टिपिएस को लागि पुन: नियुक्त गराउन अत्यन्तै जरुरी भएको जनाईएको छ।
नेपाललाई टिपिएसको लागि पुन: नियुक्त गर्न प्रशासनलाई तुरुन्त निर्णय लिन आग्रह गर्दै राष्ट्रव्यापी १०१ वटा संघ संस्थाहरुले हस्ताक्षर गरेको संस्थागत समर्थनको पत्र र देशभरिका हजारौं व्यक्तिहरुले हस्ताक्षर गरेका पेटिशन पनि सो पत्र सँगै पठाईएको छ।
करिब ९ हजार जनाको ज्यान लगेको, र दशौं हजारौंलाई घाईते बनाएर देशको राष्ट्रिय संरचनालाई नै भत्काउने ७.८ स्केलको भूकम्प पश्चातको परिस्थितिलाई नेपालीहरुले अत्यन्तै साहसका साथ सामना गरेता पनि त्यो भूकम्पको असर हामीले अझै पनि बेहोरिरहेका छौं भन्दै अधिकारद्वारा जारी विज्ञप्तिमा भनिएकाे छ, हाल यथावत रहेको विश्वव्यापी संक्रमण को साथै राजनैतिक अस्थिरता, र उत्तरी भारत र नेपालला झन्डै ४० लाखलाई बाडीहरुले थप बिस्थापित गर्दा नेपालले एक पछि अर्को संकटको सामना गर्नु परिरहेको छ।
अमेरिकी स्टेट डिपार्टमेन्टले जुन १६, २०२१ को मिति सम्म लागु हुने गरि कोभिड-१९ को उच्च जोखिम र राजनैतिक हिंसाको कारण नेपालमा यात्रा गर्न सबभन्दा उच्च स्तरको जोखिम रहेको सुझाव दिंदै यात्रुहरुलाई नेपाल भ्रमण नगर्न निर्देशन दिएको थियो। नेपालको हालको परिस्थिति बारे थप जानकारी पाउन यहाँ हेर्नुहोस्।
हाल टिपिएसमा रहेका १० हजार भन्दा धेरै नेपालीहरुको भविष्य संघीय कानुनी मुद्दा निलसन विरुद्ध रामोस/निलसन विरुद्ध भट्टराई सम्बन्धि जारी रहेको सम्झौता प्रकृयामा निर्भर छ। शरणार्थीको दर्जा दर्ता गर्न अयोग्य रहेका, अनि आफ्नो देश फर्कन पनि जोखिमपूर्ण परिस्थितिहरु सामना गर्नु पर्नेहरुको लागि टिपिएसले लामो समय देखि सुरक्षा प्रदान गर्दै आएको छ।
हालको २०१५ भन्दा अगाडि आएको हुनु पर्ने योग्यताको कारण अहिले टिपिएस पाउन नसकेका अमेरिकामा रहेका ३६ हजार भन्दा धेरै नेपालीहरुलाई अहिले नेपाल फर्कनको लागि पर्याप्त सुरक्षा छैन। यस प्रशासनले नेपाललाई टिपिएस को लागि पुन: नियुक्त गरेर महत्वपूर्ण मानवीय सुरक्षाको खाँचो भएकाहरुलाई सुरक्षा प्रदान गर्न जरुरी छ।
अधिकारका अनुसार यी जनप्रतिनिधिहरू र अभियन्ताहरूले नेपालीकाे समर्थनमा निम्म कुरा भनेका छन्
संयुक्त राज्य अमेरिकाको कँग्रेस (तल्लो सदन) की सदस्य निडिया भेलाज्क्वेज (न्यू योर्क – ७): “गएको एक वर्षमा नेपालले कोरिनाको संक्रमण, राजनैतिक हिंसा, र वाडी-पहिरोहरुको सामना गर्नु पर्यो, जसले गर्दा देश भरि नै थुप्रै मानिसहरु विस्थापित भएका थिए। गत वर्षको यि संकटहरुको कारण अझै पनि निकै दु:खहरु भोग्नु परि रहेको हुनाले हाल अमेरिकामा बसोबास गरि रहेका, तर सन् २०१५ पछि अमेरिका आएको कारणले टिपिएस पाउन नसकेकाहरुलाई नेपाल फिर्ता जान सक्ने स्थिति छैन।यही कारणले गर्दा सेनेटर शुमर संग मिलेर मैले डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्रेटेरी आलेहान्ड्रो मायोर्कास र सेक्रेटेरी अफ स्टेट एन्थोनी ब्लिन्कीनलाई नेपाललाई १८ महिनाको लागि टिपिएस नविकरण गरेर पुन: नियुक्ति गर्न आग्रह गर्दै एउटा पत्र लेख्ने नेतृत्व लिएको छु। हाल सुरक्षाको खाँचो भएकाहरुलाई तत्काल सुरक्षा दिन संयुक्त राज्य अमेरिका सँधै तत्पर रहन पर्छ। हजारौं नेपालीहरु अहिले आफ्नो देश फर्कन डराई रहेका छन्। टिपिएस जीवन बचाउने सुरक्षाहरु दिने एउटा मानवीय उपकरण हो, र नेपालीहरुको लागि तुरुन्त केहि गर्नको लागि बाईडन प्रशासनलाई म आग्रह गर्दछु।”
संयुक्त राज्य अमेरिकाको सेनेटर र सेनेटको बहुमत पार्टीको नेता चक शुमर (न्यू योर्क): “केही वर्ष देखि नेपाली समुदायलाई सुरक्षा दिन मैले धेरै लडाई गर्दै आएको छु। त्यसैले पनि हामीले नेपाली नागरिकहरुको “टेम्पोरेरी प्रोटेक्टेड स्टेटस” (TPS) पुन: प्रदान गरेर लम्ब्याईनु पर्छ। दुर्भाग्यवश नेपालले भूकम्प, राजनैतिक उत्पात, र मानव अधिकारको उल्लङ्घनहरु सामना गर्नु परेको छ। त्यस माथि कोभिड-१९ को संक्रमणले स्थिति झनै गम्भीर बनाएको छ। परिवारहरुलाई नछुटाउनको लागि पनि नयाँ मानिसहरुलाई टिपिएसको लागि योग्य बनाउन महत्वपूर्ण छ। हाम्रो समुदायका मानिसहरुलाई अहिलेको अवस्थामा नेपाल फर्काउनु गलत हुनेछ।”
पवित्रा खाती बेन्जामिन, कार्यकारी निर्देशक, अधिकार: “ यो हाम्रो लागि अमेरिकामा रहेका झन्डै ३७ हजार नेपाली आप्रवासीहरुलाई सुरक्षा दिने महत्वपूर्ण अवसर हो। २०१५ मा नेपालले टिपिएस पाए पछि हाल टिपिएस मा रहेका १० हजार भन्दा धेरै नेपालीहरुले स्वास्थ्य बीमा र काम गर्ने अनुमति पत्र जस्ता सुरक्षाहरुको फाईदा लिन पाई रहेका छन्। नेपाललाई टिपिएस पुन: नियुक्त गर्न प्रशासनलाई आग्रह गर्नको लागि हामीलाई समर्थन जनाउनु भएका कँग्रेसका सदस्यहरु, समर्थन पत्रमा हस्ताक्षर गरेका संघ-संस्थाहरु, र पेटिशनमा हस्ताक्षर गर्नु भएका हजारौं व्यक्तिहरु प्रति हामी आभारी छौं। अधिकारले २०१५ देखि नै टिपिएसको लागि लड्दै आएको छ, र हाम्रो समुदायको लागि यस योजनाको फाईदाहरु हामीले राम्ररी बुझेका छौं। हामी आशा गर्दछौं कि हाल टिपिएस मा रहेका १० हजार भन्दा धेरै नेपालीहरुको आउन लागेको टिपिएसको अन्तिम मितिलाई ध्यानमा राखेर बाईडन-ह्यारिस प्रशासनले हाम्रो आवाजलाई सुनेर समय मै यसको लागि केहि गर्नु हुनेछ।”
एन. ह्योल्मो, नेपाली टिपिएस वाहक र अधिकारको सदस्य भन्नुहुन्छ: “केहि महिना अगाडि मात्रै कोभिडको कारणले मेरी हजुर आमा बित्नु भयो। नेपालले सामना गर्नु परेको हरेक संकटले मेरो परिवारलाई प्रत्यक्ष असर पारेको छ। मेरो संयुक्त राज्य अमेरिकामा स्थिर आवसनको व्यवस्थाको चाहना नेपाल फर्कनको डरले मात्र होईन – नेपाल फर्कने कुरा मेरो लागि अहिले अव्यवहारिक पनि छ। अमेरिकामा ६ वर्ष देखि कति दु:ख बेहोरेर आफ्नो जीवनी यहीं व्यवस्थित बनाईसके पछि मैले पीडा भोगेको, र मेरो परिवारले अहिले पनि पीडा भोगि रहेको देश फर्कन पर्ने परिस्थिति म कल्पना पनि गर्न सक्दिन। |
बैतडी घर भएकी २२ वर्षीया नेपाली चेली कसरी दिल्लीमा बेचिन पुगिन् ? नयाँ दिल्ली । पछिल्लो केहि समयदेखि भारतको दिल्ली–मुम्बईमा नेपाली किशोरी बेचिने घटनाहरु निरन्तर बढ्नु चिन्ताको विषय बनेको छ। यस्तै घटनाको उदाहरण हो दिल्लीको जीबी रोडमा भेटिएकी २२ वर्षीया नेपाली चेली । नेपाल भारत सिमानामा अशिक्षित, गरिब परिवारका नेपाली चेलीलाई माया जाल, विवाह र पैसाको लालच दिएर भारतको मुम्बई तथा दिल्लीमा बेचिने घटनाको पर्दाफास भएको छ। दिल्लीबाट दलित एकता सञ्जाल र आफन्त नेपालको संयुक्त पहलमा २२ बर्षिया नेपाली चेलीको उद्धार गरि अहिले उनलाई नेपालस्थित उनकै घर फर्काइएको छ।
बैतडी जिल्ला बस्ने गर्ने ललिता (नाम परिवर्तन) आफ्नी दिदि भिनाजुसँग कञ्चनपुरको सुख्डमा बसोबास गर्दै आएकी थिइन्। यसै क्रममा उनको बैतडीकै एकजना युवकसँग सम्पर्क भयो र एकापसमा कुरा गर्दागर्दै उनी युवाको माया जालमा फसिन्। ती युवाले आफ्नी प्रेमिकालाई विवाह गर्ने र भारत जाने प्रस्ताव राखे। गरिबी र आफन्तको घरमा बसेकी ललिता युवाको प्रेममा विश्वास गर्दै विवाह गर्ने भारत जाने प्रस्तावलाई स्वीकार गरिन्।
दलित एकता सञ्जाल भारतका प्रमुखले दिएको जानकारी अनुसार ११ अगस्टको दिन दुवैजना भारततर्फ आउने क्रममा उनीहरुलाई गड्डाचौकी नाकामा रोकि चेकजाँच गर्दा उनीहरुसँग कुनै पनि नाता प्रमाणित हुने प्रमाणपत्र नभएको कारण किशोरीलाई १ दिन महिला सेल्टरमा राखेर युवालाई जिल्ला प्रहरी कार्यालयको देखरेखमा राखी १२ अगस्टको दिन ती युवतीलाई उनका भिनाजुको जिम्मा लगाइएको हो ।
तर सोही दिन उनीहरु झोलुङ्गे पुलको बाटो तिन हजार नेपाली रकम दिएर मोटरसाईकलमा भारत–नेपाल सिमा पार गरेको युवतीले जानकारी दिएकी छन्। उनका भिनाजुको पनि उक्त काण्डमा संलग्नता हुनसक्ने आशंका व्यक्त गरिएको छ ।
१३ अगस्टको दिन ती युवती र युवा दिल्लीको आनन्द बिहार बसपार्क पुगे र युवाको प्लान अनुसार एकजना भारतीय नागरिक उनीसँग आएर नोकरी लगाईदिन्छु भन्दै प्रलोभन दिए । उनीहरु ती भारतीय युवासँग उनकै कोठामा पुगे। युवा प्रेमिकालाई नुहाउन भन्दै कोठाबाट निस्किए र ललिता पनि बसको यात्रा धेरै कष्टकर र लामो भएकाले निदाइन् । केहि समय पश्चात उनी उठिन् र आफ्नो प्रेमी उक्त कोठामा नभएकाले उनी कहाँ छन् भन्दै खोजतलास गर्दै गर्दा ती भारतीय युवाले रक्सी लिन गएको जवाफ दिए ।
युवती आत्तिएर प्रेमी खोज्न बाहिर जान खोज्दा भारतीय युवाले ललितालाई जबरजस्ति गर्न खोजेपछि उनी बलजफत बाहिर आएर करिब ३ घण्टा युवकको प्रतिक्षा गरिन् तर उनी फर्किएनन्। समय बित्दै जाँदा रात पर्न लाग्यो, अन्जान देश एक्लै युवती डरले चिच्चाउन थालिन् छिमेकीको डरले भारतीय युवाले युवतीको झोला दिएर कोठा देखि केहीपर लगेर आफू फरार भयो । दिल्लीको जीबी रोडमा युवती यसरि सडकमा अलपत्र पर्नु कुनै डरलाग्दो सपना जस्तै थियो तर यो सपना नभई सत्य घटना थियो।
जीबी रोडमा रोईरहेकी अलपत्र अवस्थामा एकजना बटुवाले पुलिसलाई खबर गरे। भारतको स्वतन्त्र दिवसको एक दिन पहिला १४ अगस्तको दिन परेको हुँदा पुलिसले पनि तत्परताका साथ एक्सन लिदै तत्काल नै नेपाली राजदुतावासमा सम्पर्क गरि राती करिब एक बजे दूतावासको गेटमा त्यी अलपत्र परेकी युवतीलाइ पु¥याए। दूतावासको कर्मचारीले आफ्नो देशको नागरिक त्यो पनि युवती यसरी जोखिमा परेको देखेपछि तत्काल सुरक्षाका साथ सुरक्षित स्थानमा राख्नका लागि मानव बेचबिखनविरुद्ध सक्रिय संस्था आफन्त नेपाललाई खबर गरे ।
आफन्त नेपाल र दिल्ली महिला आयोगको टोली दूतावास पुगेर परामर्श गर्नका साथै ती पिडित युवतीको सुरक्षा, मेडिकल र नेपालदेखि गैरकानुनी तरिकाले भारत भित्राउने व्यक्तिको साथ कोठामा राख्ने व्यक्तिको बारेमा छानबिन गर्नको लागि पहल गरिएको छ। यस घटनामा सम्मलित दुवै युवा अहिले सम्पर्कबिहिन भएको तर दिल्ली पुलिसको खोजतलास चलिरहेको संस्थाका अध्यक्ष अर्जुन बिकले डिसी नेपाललाई बताए।
युवतीलाई मेडिकल चेकजाँच पश्चात दिल्ली महिला आयोगको सुरक्षित आवास गृहमा व्यवस्थापन गरिएको थियो र अहिले पिडितलाई परिवार सम्म पु¥याउन कानुनी प्रक्रियाहरु पूरा गरि दलित एकता सन्जाल र आफन्त नेपालका भारत प्रमुख नवीन जोशीको संयुक्त पहलमा नेपाल फर्काइएको छ। स्वदेश फिर्ता गराउने टिमको नेतृत्व दलित एकता संजाल नेपाल भारतकी महिला नेतृ ममता बीकले गरेकी छन्। |
सरकारसँगको सहकार्यमा इजरायल पठाउने भ्रमको पछि नलाग्न मन्त्रालयको आग्रह काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एक विज्ञप्तिमार्फत वैदेशिक रोजगारीका लागि इजरायल जाने युवाहरूलाई कसैको पनि प्रलोभनमा नपर्न आग्रह गरेको छ ।
मन्त्रालका प्रवक्ता दीपक काफ्लेका अनुसार पछिल्लो सयम इजरायल जान फारम भरेका युवाहरूलाई मन्त्रालय वा वैदेशिक रोजगार विभागका अधिकारीसँग सम्बन्ध छ भनी प्रलोभन पार्ने कार्य भइरहेको छ भन्ने सूचनालाई मध्यनजर गर्दै मन्त्रालयले यस्तो आग्रह गरेको हो ।
मन्त्रालयले इजरायलको रोजगारीका लागि परेका आवेदनको रूजु कार्य भइरहेको भन्दै विभागको आधिकारिक सूचनालाई मात्र पालना गर्न अनुरोध गरेको छ । त्यस्तै, इजरायलका लागि कुनै पनि भनसुनले काम नहुने विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले पनि यसअघि बताएका थिए ।
मन्त्रालयले यस्ता कुनै पनि गैरकानुनी कार्यमा संलग्न नहुनसमेत सबैमा आग्रह गरेको छ । साथै, गैरकानुनी रूपमा रकम असुल गर्ने वा कानुनविपरीतका कार्य गरी नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौताको प्रतिकूल हुने कार्य गर्ने जोसुकै व्यक्ति वा संस्थालाई प्रचलित कानुनअनुसार कारवाही गर्ने जनाएको छ ।
प्रवक्ता काफ्लेले रोजगारीका लागि इजरायल जाने कार्यका लागि दुई सरकारबीचको सम्झौता अनुसार श्रमिक पठाइने भएकाले यसमा अन्य व्यक्तिको कुनै पनि हात नहुने बताएका छन् ।
इजरायलको दीर्घकालीन स्याहारकेन्द्रहरूमा सहायक श्रमिकका रूपमा नेपाली युवाहरूलाई इजरायलले लैजान लागेको हो । विभागले १ हजार जनाका लागि खुला गरेको आवेदनमा ९ हजार ६ सय ९९ जनाको आवेदन परेको छ ।
ती आवेदनको अहिले रूजुको काम भइरहेको छ । विभागले रूजु गरेर तयार पारेका अन्तिम उम्मेदवारहरू लिखित परीक्षामा सहभागी हुन पाउने मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।
लिखित परीक्षामा उत्तीर्ण भएकाहरूलाई मौखिक परीक्षामा सहभागी गराइने र अन्तिममा १४ सय जनाको नाम सार्वजनिक गरिने बताइएको छ । र, त्यसमध्ये १ हजार जना इजरायल रोजगारीमा जाने छन् । |
एनआरएनएम युरोपको उपसंयोजकमा भीम केसीले उम्मेदवारी दिने पोर्चुगल । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को आगामी अक्टोबरमा हुने १०औँ महाधिवेशनमा किस्टानो रोनाल्डोको देश भनेर चिनिने पोर्चुगलबाट युरोपको उपसंयोजकमा भीम केसी (कमल), युवा संयोजक पदमा रोबर्ट लिम्बूले उम्मेदवारी दिने तयारीमा छन् ।
पोर्चुगलका पूर्वअध्यक्ष भीम केसी डेढ दशकदेखि एनआरएनए अभियानमा सक्रिय रहेका छन् । उनी एनआरएनए पोर्चुगलको अध्यक्ष, उपाध्यक्ष र सल्लाहकारका रूपमा समेत आफ्नो भूमिका निर्वाह गरिसकेका छन् । एनआरएनएको केन्द्रीयस्तरका विभिन्न समिति र कार्यदलमा रहेर काम गरेको उनीसँग अनुभव छ । पोर्चुगल र युरोपमा रहेका नेपाली आप्रवासीहरुको हकहित र अधिकार स्थापित गर्न निरन्तर काम गर्दै आएका छन् ।
आप्रवासीसम्बन्धी कानुनमा सरलीकरणको लबिङ गर्दै पोर्चुगलका तत्कालीन प्रधानमन्त्री, गृहमन्त्रीलाई ज्ञापनपत्र पठाउने, पोर्चुगलको संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको संसदीय दलसँगको प्रत्यक्ष भेटघाट र छलफल सहभागी भई नेपाल एवं दक्षिण एशिया क्षेत्रकै आप्रवासीहरु समस्या समाधान गर्न केही हदसम्म भूमिका खेलेका थिए ।
बाग्लुङको जैमिनी नगरपालिका–२ मा जन्मिएका केसीले शिक्षा र व्यवस्थापनमा स्नातकोत्तर गरी १० वर्षसम्म शिक्षण एवं शिक्षा प्रशासनको उच्च सरकारी तहमा काम गरेका थिए । केसी हाल विश्वका सुपरस्टार फुटबलर क्रिस्टियानो रोनाल्डो जन्मेको पोर्चुगलको सुन्दर टापु मदेइरामा आफ्नै पर्यटन, ट्रान्स्पोर्ट र रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै आएका छन् ।
युरोप क्षेत्रीय संयोजकमा पोर्चुगलका लिम्बूले उम्मेदवारी गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १०औँ विश्व अधिवेशनको नजिकै गर्दा युरोप क्षेत्रीय संयोजकमा पोर्चुगलबाट रोबर्ट लिम्बूले उम्मेदवारी घोषणा गरेका छन् । युवाको नेतृत्व विकास आफ्नो प्रमुख एजेन्डा भएको बताउने लिम्बूले युरोपेली मुलुकमा कार्यरत नेपाली युवाको सीपलाई नेपालका युवासम्म लैजाने र उनीहरुसँगको सहकार्यबाट देशको विकासमा योगदान दिने योजनाका साथ आफ्नो उम्मेदवारी भएको बताएका छन् ।
पछिल्लो समयमा सङ्घको अभियानप्रति युवाहरू चासो नभएको युवा शक्तिलाई एकीकृत गर्दै युवाहरुलाई समेट्न आफूले युवामैत्री कार्यमा विशेष कदम चाल्नेसमेत उनले बताए । लिम्बू विगत १३ वर्षदेखि पोर्चुगलमा सफल युवा व्यवसायीको छुट्टै पहिचान बनाउँदै आएको छ । उनी एनआरएनए पोर्चुगल कार्यसमिति सदस्य, संरक्षक र सल्लाहकारको भूमिका निर्वाह गरिसकेका छन् । रासस |
१३ दिनपछि भुपू गोर्खाहरुले ताेडे अनसन काठमाडौं । बेलायती प्रधानमन्त्री कार्यालयअघि आमरण अनसनमा बसेका भुपू गोर्खाहरुको अनसन तोडिएको छ । समानताको माग गर्दै १३ दिन देखि अनसन बसेका भूतपूर्व गोर्खा सैनिकहरुको मागबारे वार्ताका लागि दुई देशको टोली बनाउन बेलायत सरकार सहमत भएपछि आमरण अनसन स्थगित भएको हो।
टेन डाउनिङ स्ट्रिटमा ज्ञानराज राई, पुष्पा घले र धन गुरुङ आमरण अनसन बसेका थिए । बेलायत सरकार र अनसन बसेका भूपु गोर्खा संघर्ष समितिबीच सहमति भएपछि अनसन तोडिएको हो । बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी, उपनियोग प्रमुख रोशन खनाल तथा बेलायत सरकारका रक्षामन्त्री लियो डोचर्टीको उपस्थितीमा जुस पिलाएर अनशन तोडाएका हुन् ।
त्यसअघि बेलायती रक्षामन्त्रीको प्रतिवद्धता पत्र पढेर सुनाइएको थियो, जसमा भूपू गोर्खाहरुको समस्या समाधानका लागि नेपाल र बेलायतको द्वीपक्षीय वार्ता टोली बनाउने, जसमा भूपू गोर्खाहरुको पनि प्रतिनिधि रहने उल्लेख छ । |
इजरायल रोजगारीको हजार कोटामा झण्डै १० हजार युवाले भरे फारम काठमाडौं । रोजगारीका लागि इजरायल जान माग गरिएको एक हजार कोटामा करिब १० हजार युवाले फारम भरेका छन् । वैदेशिक रोजगार विभागका निर्देशक महेन्द्रनाथ भट्टराईका अनुसार तोकिएको अवधिभित्र परेका आवेदनमा ९ हजार ६ सय ९९ युवाले आवेदन दिएका हुन् ।
यो आवेदन इजरायलले पहिलो चरणमा दिएको माग कोटामा ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष गरी एक हजार केयरगिभरका लागि दक्ष श्रमिकको माग भएकोमा चार हजार दुई सय महिला र पाँच हजार ४९९ जना पुरुषको आवेदन परेको छ ।
वैदेशिक रोजगार विभागले गत साउन १२ गते एक हजार केयर गिभरका आवेदन माग गरेकोमा अन्तिम दिन सोमबारसम्म सो संख्यामा आवेदन परेको हो । शैक्षिक योग्यता, अनुभव तथा तालिमलगायतका प्रावधान रहेका कारण अपेक्षाअनुसार आवेदन नपरेको विभागको अनुमान छ ।
विभागले तोकिएको अवधि (भदौ १५ देखि २२ गतेसम्म)भित्र परेका आवेदनलाई भदौको दोस्रो हप्तासम्म स्वीकृत गरेर परीक्षा गर्ने तयारी गरेको छ । आवदेन भर्नेहरुको लिखित परीक्षाको मिति भने तय गरिसकेको छैन ।
साथै, विभागका अनुसार आवेदन स्वीकृति भएमा वा अस्वीकृति भएमा सो को जानकारी गराउने तथा आवेदन दिँदा व्यक्तिले अनलाइन सिस्टममा राखेको फोन नम्बर र इमेलमार्फत परीक्षा केन्द्र, परीक्षा समय तोक्ने निर्णय भएपछि आवेदकलाई जानकारी गराइने छ । |
नेपाल र इजरायलको विश्वविद्यालयबीच सम्झौता काठमाडौं । नेपाल र इजरायलको विश्वविद्यालयबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपाल ईजरायलबीच शैक्षिक, सांस्कृतिक, प्राविधिक, वैज्ञानिक एवं वातावरणीय क्षेत्रमा हुँदै आएको आपसी सहकार्यलाई थप सघन तुल्याउने लक्ष्यसहित नेपालको सबैभन्दा ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय र इजरायलको सबैभन्दा ठूलो विश्वविद्यालय तेल अविव युनिभर्सल (टीएयू) बीच एक समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
ईजरायलको तेल अविव विश्वविद्यालय परिसरमा आयोजित संक्षिप्त कार्यक्रमबीच उक्त समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा नेपालको तर्फबाट त्रिभुवन विश्वविद्यालयका प्रो.डा.शिवलाल भुसाल र इजरायलको तर्फबाट तेल अविव विश्वविद्यालयकी भाइज प्रेसिडेन्ड प्रो.मिलेट्टे सामिरले भर्चुअल माध्यमबाट हस्ताक्षर गरेका हुन् ।
सोही अवसरमा नेपालको त्रिभुवन विश्वविद्यालय अन्तर्गतको पुल्चोक इन्जिनियरिङ क्याम्पस र तेल अविव विश्वविद्यालयको विपद् व्यवस्थापन विभागबीच यसअघि नै भर्चुअल माध्यमबाट हस्ताक्षर भइसकेको समझदारीपत्र समेत प्रकाशित गरिएको थियो । विभागस्तरीय समझदारीपत्रमा नेपालको तर्फबाट पुल्चोक ईन्जिनियरिङ क्याम्पसको सेन्टर फर इन्फ्रास्टक्चर डेभलपमेन्ट स्टडिजका डाइरेक्टर प्रो.डा.जगत कुमार श्रेष्ठ र ईजरायलको तर्फबाट तेल अविव विश्वविद्यालयकी विपद् व्यवस्थापन विभाग प्रमुख डा.ब्रुरिया अदिनीले हस्ताक्षर गरेका हुन् ।
तेल अविव विश्वविद्यालयको एसिया इन्गेजमेन्टकी डाइरेक्टर इम्मा अफटरम्यन र इजरायल नेपाल फ्रेन्डसिप एशोसिएनका प्रमुख नदभ बेन येहुदाद्वारा संयुक्त रुपमा संचालित कार्यक्रममा इजरायलको लागि नेपाली राजदूत डा.अन्जान शाक्य, तेल अविव विश्वविद्यालयकी भाइस प्रेसिडेन्ट प्रो.मिलेट्टे शामिर, विपद् व्यवस्थापन विभागकी प्रमुख डा.ब्रुरिया अदिनी, दूतावासका द्वितीय सचिव अर्जुन घिमिरे लगायतको भौतिक उपस्थिति रहेको थियो ।
नेपालबाट त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रो.डा.धर्मकान्ता बास्कोटा, नेपालका लागि इजरायलका राजदूत हनान गोडेर, विश्वविद्यालयका रेक्टोर प्रो.डा.शिवलाल भुसाल, पुल्चोक ईन्जिनियरिङ क्याम्पसबाट पूर्वाधार विकास अध्ययन केन्द्रका डाइरेक्ट प्रो.डा.जगत कुमार श्रेष्ठ, सिभिल इन्जिनियरि डिपार्टमेन्ट विभाग प्रमुख प्रो.डा.गोकर्ण बहादुर मोत्रा, सिभिल इन्जिनियरि डिपार्टमेन्टकै विपद् जोखिम व्यवस्थापनमा मास्टर कार्यक्रमका प्रोग्राम कोओडिनेर नगेन्द्र राज सिटौला, ऊर्जा अध्ययन केन्द्रबाट प्रो.डा.जगन्नाथ श्रेष्ठ, थापाथली इन्जिनियरिङ्ग क्याम्पसबाट रामु नेउपाने, काठमाडौंस्थित इजरायली दूतावासबाट केशव श्रेष्ठ लगायत भर्चुअल माध्यमबाट जोडिएका थिए ।
कार्यक्रममा दुबै विश्वविद्यालयलाई बधाई तथा शुभकामना व्यक्त गर्दै राजदूत डा.शाक्यले कूटनीतिक सम्बन्धको ६ दशक पूरा हुँदासम्म दुई देशबीच सदैव अटूट र सुमधुर रहिआएको सम्बन्ध पछिल्ला दिनहरूमा विभिन्न क्षेत्रमा विस्तार हुँदै गएकोमा खुशी व्यक्त गरे ।
समझदारीपत्रमा हस्ताक्षरसँगै दुई विश्वविद्यालय र अन्तर्गतका संकाय/विभागबीच आपसमा प्रोफेसरहरु, शोधकर्ताहरु, संकायहरु र विद्यार्थीहरु आदान प्रदान सहमति भएको छ। |
९०० डलरसम्मको सगुनको शेयर खरिद गर्न पाइने काठमाडौं । सामाजिक सञ्जालमा आधारित इ–कमर्स कम्पनी सगुनले रेग ए प्लस (मिनी आइपिओ) अन्तर्गत उपलब्ध गराइएका शेयर ३१ अगष्ट २०२१ सम्म खरीद गर्न सकिने व्यवस्था गरेको छ ।
कम्पनीले जारी गरेको विज्ञप्तिअनुसार इच्छुक लगानीकर्ताले ‘सी’ क्लासको शेयर, प्रति शेयर ३० डलरको दरले कम्तीमा ९०० डलरसम्म खरिद गर्न पाउने छन् । गत जुलाइको अन्त्यसम्ममा संसारभरिका चार हजार ५०० भन्दा बढी लगानीकर्ताले सगुनको शेयर खरिद गरेका छन् । सगुनले अमेरिकी कम्पनी, एक्जेम्प्लर कन्सल्टिङ्गसँग लगानी, व्यापार, आय तथा भविष्यको वृद्धिबारे रणनीति सहकार्यसम्बन्धी सम्झौता गरेको सहव्यवस्थापक कविन सिटौलाले जानकारी दिए ।
सन् २०१५ मा औपचारिक रुपमा शुरु गरिएको सगुनका अमेरिका, नेपाल र भारतमा कार्यालय रहेको जनाइएको छ । सगुन एप गुगल प्लेस्टोर र एप स्टोरबाट सजिलै डाउनलोड गर्न सकिने त्यसको प्ल्याट फर्ममा प्रयोगकर्ताले आफ्नो कथा, फोटो र भिडियो शेयर गर्न स्क्छन् भने आफ्ना साथीसँग कुराकानी गर्छन् र उनीहरुले कमाएको ‘स्मार्ट क्वाइन’ परिवार र साथीहरुलाई उपहार किन्न खर्च गर्न सक्ने व्यवस्था गरिएको छ । |
अफगानिस्तान घटनामा सरकारको धारणा सार्वजनिक काठमाडौं । सरकारले अफगानिस्तानमा विकसित पछिल्लो घटनाक्रमबारे नेपाल सरकारको धारणा सार्वजनिक गरेको छ ।
परराष्ट्र मन्त्रालयले सरकारको धारणा सार्वजनिक अफगानिस्तानमा विकसित घटनाक्रमलाई नजिकबाट नियालिरहेको बताएको छ ।
नेपालले शान्ति, सुरक्षा र अमनचयनको ग्यारेन्टी गर्न आग्रह गरेको छ । अफगानिस्तान छाड्न चाहनेहरुलाई सुरक्षित रुपमा सडकमार्ग, हवाईमार्ग र सीमापार गर्न दिन पनि आग्रह गरेको छ । त्यस्तै अफगानिस्तानमा मानव जीवन र सम्पत्तिको रक्षा, शान्ति र स्थिरता कायम गर्न पनि अपिल गरेको छ ।
सार्क सदस्य राष्ट्रको हैसियतमा नेपालले अफगानिस्तानमा शान्ति र स्थिरता कायम भएको देख्न चाहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।
|
काबुलबाट आइपुगे १२७ नेपाली, वैधानिक १५ सय श्रमिक छन् अफगानिस्तामा काठमाडौं। अफगानिस्तानस्थित अमेरिकी दूतावासमा सुरक्षा गार्डका रूपमा कार्यरत १ सय २७ जना नेपालीलाई उद्दार गरी काठमाडौं ल्याइएको छ। नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार अमेरिकाले उद्धार गरेको ती नेपालीहरु कुवेतबाट जजिरा एयरवेजको जहाजमार्फत आज(मंगलबार) बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण हुन्।
उद्दार गरिएका उनीहरूलाई सुरुमा यूएस फोर्सको जहाजबाट काबुलबाट कुवेत पु र्याइएकाे थियाे। र, कुबेतबाट चार्टड फ्लाइटमार्फत नेपाल ल्याइएको हो।
त्यसैगरी, व्यक्तिगत र संस्थागत रुपमा श्रम स्वीकृति लिएर करिब १५ सय नेपाली श्रमिक अफगानिस्तान पुगेका छन्। वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले जम्मा दुई वटा म्यानपावर (एफएसआई वल्र्ड वाइड नेपाल प्रालि र युनिभर्सल कनेक्शन प्रालि)मार्फत २ सय ७९ जना श्रमिक अफगानिस्तान गएको बताए।
उनले भने, ‘अन्तिम दुई वर्षमा दुई वटा म्यानपावरमार्फत २ सय ७९ जना नेपाली संस्थागत रुपमा अफगानिस्तान गएको देखियो त्योभन्दा बाहेक १२ सय जना जति चाहीँ व्यक्तिगत श्रम स्वीकृति लिएर गएका छन् ।’
उद्धारमा विभागको भन्दा पनि परराष्ट्रको महत्वपूर्ण भूमिका भएको बताउँदै महानिर्देशक दवाडीले भने, ‘उहाँ(म्यानपावर)हरुले पहिला पठाएको सबै गरेर करिब ३ सय ३७ जना कतार आइसके अरु बाँकी अफगानिस्ताको कन्धार एयरपोर्टमा ४ सय ३७ जना वटिङ्ग लिष्टमा हुनुहुन्छ भन्ने कुरा हिजो(सोमबार)सम्मको खबर थियो।’
अफगानिस्तानमा अवैधानिक नेपाली कामदारहरु पनि धेरै हुनसक्ने भन्दै महानिर्देशक दवाडीले भने, ‘ अवैधानिक नेपाली कामदार त्यहाँ हुन सक्छन । हामी कहाँबाट दुबई, कतार, इण्डिया आदि जाने र त्यहाँबाट अर्को माध्यम प्रयोग गरेर अफगानिस्तान जानु भएकाहरु हुन सक्छन्, त्यो अभिलेख हामीसँग हुँदैन।’ |
अफगानस्तानमा रहेका नेपालीकाे विवरण संकलन जारी, हालसम्म १ सय ३४ जनाले विवरण टिपाए काठमाडौं । अफगानिस्तानमा रहेका नेपालीहरुले आफ्नो विवरण टिपाएका छन्। सोमबार बेलुकीसम्म एक सय ३४ जना नेपालीले विवरण टिपाएको परराष्ट्र मन्त्रालयले जनाएको छ। विवरण टिपाएकाहरुलाई चाडैँ नेपाल फर्काउने तयारी भइरहेको छ।
परराष्ट्र मन्त्रालयको काउन्सलर विभागले वेबसाइट, भाइबर र ह्वाट्सएपमार्फत विवरण संकलनको काम थालेको थियो। कामको शिलशिलामा अफगानस्तानमा रहेका नेपालीका परिवार र सदस्यलाई विवरण टिपाउन अनुरोध गरिएको थियो।
रोजगारीको सिलसिलामा रहेका नेपालीको अवस्था एकिन गरि आवश्यक समन्वयका साथ उद्धारका काम गर्न मन्त्रालयले गठन गरेको कार्यदलले यसअघि विवरण सङ्कलन गर्ने निर्णय गरेको थियो। |
मजदुर एकता समाज मलेसियाको पहिलो अधिवेशन सम्पन्न, अध्यक्षमा अर्जुन सिंह अनुरागी मलेसिया । नेपाली मजदुर एकता समाज मलेसिया समितिको पहिलो अधिवेशन सम्पन्न भएको छ । आइतबार मलेसिया समय अनुसार दिउसो १२ बजेदेखि नेपाली मजदुर एकता समाज मलेसिया समितिका निवर्तमान अध्यक्ष राम प्रसाद सुबेदी संगमको अध्यक्षता नेपाली मजदुर एकता समाज केन्द्रीय समिति अध्यक्ष तेजबहादुर कार्कीको प्रमुख आथित्यता, नेपाली राजदूतावास क्वालालम्पुर मलेसियाका डि।सि।एम मोति श्रीसको विशिष्ट आथित्यतामा भर्चुअल माध्यमबाट अधिवेशन सम्पन्न भएको हो ।
अधिवेशनले अर्जुन सिंह अनुरागीको अध्यक्षतामा नयाँ समिति चयन भएको छ । यस्तै उम्मेद्वारी नपरेका केही पद बाँकि रहेको र बाँकि रहेका पदमा नयाँ समितिले चयन गरेर जाने गरी तयारी गरिएको छ । निर्वाचन समिति संयोजक तिलोचन गौतमले घोषणा गरेको समितिको उपाध्यक्षमा सैलेस सौगात, महासचिवमा सिंह बहादुर मुक्तान, सचिवमा लाल बहादुर ओली, कोषअध्यक्षमा विशाल श्रेष्ठ, सह–कोषाध्यक्षमा प्रेम बिष्ट अन्जान, सञ्चार विभाग प्रमुखमा भिम लुहार रहेका छन् ।
त्यस्तै सदस्यहरुमा भागिराम बुढाथोकी, हरि बहादुर सिंह र निर्मल खवास रहेका छन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाली मजदुर एकता समाज केन्द्रीय समिति अध्यक्ष तेजबहादुर कार्कीले विश्वभर छरिएका मजदुरका समस्या समाधानका लागि आवश्यक परे सबैसँग सहकार्य गरेर कटिबद्ध भइ लागि पर्न अनुरोध गरे । विशिष्ट अतिथिको आसनबाट बोल्दै नेपाली राजदूतावास क्वालालम्पुर मलेसियाका डि.सि.एम. मोति श्रीसले पछिल्लो समयमा मलेसियामा अत्यधिक कोरोना महामारी बढिरहेको र हालसम्म १०० जना बढी नेपालीले ज्यान गुमाएको दुखत खबर सुनाउँदै यसबाट बच्ने उचित उपाय भ्याक्सिन नै भएको हुँदा सबैलाई खोप लिन र सरकाले जारी गरेको एसओपी अनिवार्य पालना गर्न अनुरोध गरे ।
यस्तै उनले श्रमिकको समस्या समाधानमा दुताबासका तर्फबाट हुने सहयोग सदैब हुने र सहकार्य गरेर अगाडि बढ्ने समेत बताए । नेपाली मजदुर एकता समाज मलेसिया समितिका निवर्तमान वरिष्ठ उपाध्यक्ष अर्जुन सिंह अनुरागीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा बोल्दै एनआरएनए जोहोर मलेसिया अध्यक्ष हरि बहादुर बस्नेत, श्रमिक अगुवा रमेश मल्ल सन्दिप खड्का, गैर आवसीय नेपाली संघ मलेसियाका महासचिव रन्जित कुमार क्षेत्री, सुदुर पश्चिमेली नेपाली समाज, मलेसियाका अध्यक्ष तुलाराम धामी, सुदुर पश्चिमेली नेपाली समाज जोहोरका अध्यक्ष तिलक चन्द ठकुरी, नेपाली मजदुर एकता समाज केन्द्रीय समिति सदस्य तथा भारत समिति अध्यक्ष भरत पौडेल नेपाली मजदुर एकता समाज कोरिया संयोजक निकेश आले,ब्राजिल संयोजक तथा संचार विभाग प्रमुख लेखा राना प्रिया, पत्रकार तिलोचन गौतम, भिम लुहार नेपाली राजदुतावास मलेसियाका जनसम्पर्क अधिकृत टेक बहादुर बुढा लगायतका वक्ताहरु श्रमिकको समस्या समाधानमा सदैव अगाडि बढ्न र जुनसुकै बेला आफुहरु समेत सहकार्य गर्न तयार रहेको जानकारी दिए ।
यसैबीच अध्यक्ष पदमा चयन भएका अर्जुन सिंह अनुरागीले सबैको साथ सहयोग रहन गएमा मलेसियाका सम्पूर्ण संघ संस्थासँग सहकार्य गरेर मलेसियामा दुःखमा परेका नेपाली श्रमिक दाजुभाइ दिदिबहिनीहरुलाई आपतकालीन अवस्थामा रहनको लागि आपतकालीन आवासको ब्यवस्थापन गर्ने प्रतिवद्धता व्यक्त गरे ।
साथै उनले समस्यामा रहेका श्रमिकहरु सहज रुपमा नेपाली दूतावास जान सक्ने वातावरण सिर्जना गर्ने र मलेसियाका विभिन्न क्षेत्रमा सम्भावना भए पाक्षिक रुपमा नभए मासिक रुपमा भएपनि सचेतनामुलक कार्यक्रम संचालन गर्ने बताए ।
नयाँ कार्यसमिति चयन भएपछि नयाँ कार्य समितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै निवर्तमान अध्यक्ष राम प्रसाद सुबेदी संगमले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै नयाँ समितिले पनि विश्वभर छरिएका मजदुरका समस्या समाधानका निम्ति आवश्यक परे सबैसँग सहकार्य गरेर अगाडि बढ्न अनुरोध गरे । साथै उनले आफु जुनसुकै परिस्थितिमा भएपनि नैतिक भौतिक आर्थिक हिसाबले नेपाली श्रमिकको पक्षमा गर्न सक्ने सहयोग सदैव गर्न तयार रहेको बताए ।
मजदुरका लागि मजदुर भन्ने मुल नारा, उद्देश्य र गैरसरकारी, गैरराजनीतिक तथा गैरमुनाफामुखी रहने प्रतिबद्धतासहित नेपाली मजदुर एकता समाज दुई वर्ष अगाडी स्थापना भएको संस्थाको मलेसिया समितिको पहिलो अधिबेशनको सञ्चालन नेपाली मजदुर एकता समाजका केन्द्रीय समितिका महासचिव समर्पण भट्टराईले गरेका थिए । |
भारतको हिमाचलबाट एक नेपाली बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह काठमाडौं। अर्घाखाँची जिल्ला भूमिकास्थान–१ का साम्नेखोलाका ४४ वर्षीय श्रीराम खनाल (दुर्गा) भारतको हिमाचल प्रदेशबाट बेपत्ता भएका छन् ।
भाइ टीकारामका अनुसार उनी विगत दुई वर्षदेखि सम्पर्कविहीन छन् । खनाल ७ जुन २०१९ देखि भारतको हिमाचल प्रदेशको सुन्दरनगरबाट बेपत्ता भएका हुन् ।
करिब ५ फुट उचाइ भएका खनालले सम्पर्कविहीन हुनभन्दा एकदिन अघि आफूले काम गर्दै आएका मालिकसँग हिमाचालको सोलाङ जाने बाटो सोधेको बताइएको छ ।
बेपत्ता भएपछि परिवारले आन्तरिक रुपमै उनको खोजीकार्य अघि बढाएकोे थियो । तर, दुई वर्ष वित्तिसक्दा पनि उनी सम्पर्कमा नआएपछि परिवारले सबैलाई खोजी गरिदिन आग्रह गरेको छ ।
फेलापार्नेले मूलप्रवाह संगरुर महिला नगर संयोजक लक्ष्मी खनाल ००९१९५०१६६३०८४ वा नेपालमा भाइ टीकाराम ००९७७४४९०८८२३ मा सम्पर्क गर्न अनुरोध गरिएको छ । |
म्यानपावरलाई क्यूआर कोडसहितको प्रमाणपत्रको शुल्क नलिन आग्रह काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाएको क्यूआर कोडसहितको प्रमाणपत्र निःशुल्क गर्न म्यानपावर कम्पनीलाई आग्रह गरेको छ । केही म्यानपावर कम्पनीले उक्त प्रमाणपत्रको लागि वैदेशिक रोजगारमा जाने व्यक्तिसँग शुल्क लिइरहेको भन्ने सूचना प्राप्त भएपछि मन्त्रालयले विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो ।
मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीका अनुसार विदेश जानुपर्ने कतिपय व्यक्तिले कोभिड–१९ विरुद्धको खोप लगाएको क्यूआर कोडसहितको प्रमाणपत्र लिन म्यानपावर कम्पनीलाई शुल्क बुझाउनु परेको गुनासो गरेका थिए । सरकारले पछिल्लो समय वैदेशिक रोजगारीमा जाने युवाहरुलाई सम्बन्धित म्यानपावरमार्फत अनलाइन फाराम भरी प्राप्त गर्नुपर्ने उक्त क्यूआर कोडसहितको प्रमाणपत्र निःशुल्क लिन सकिने जनाएको थियो ।
तर, कोरोनाका कारण विश्वव्यापी अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेको बेलामा समेत कतिपय म्यानपावरहरुले शुल्क उठाइराखेको गुनासो प्राप्त भएपछि मन्त्रालयले सर्वसाधारणलाई मर्का पर्ने कुनै पनि कार्यहरु नगर्न सम्बन्धित म्यानपावर कम्पनीलाई आग्रह गरेको हो । साथै, शुल्क लिनेउपर कडा कारवाही गरिने पनि विज्ञप्तिमा उल्लेख छ ।
|
विभागले बोलायो अफगानिस्तानमा श्रमिक पठाउने दुई म्यानपावरलाई काठमाडौं । वैदेशिक रोजगार विभागले अफगानिस्तानमा श्रमिक पठाएका दुई म्यानपावर कम्पनीलाई छलफलका लागि विभागमा बोलाएको छ। अफगानिस्तानमा रहेका नेपालीको अवस्थाबारे छलफल गर्नका लागि विभागले ति म्यानपावर कम्पनीलाई विवरणसहित उपस्थित हुन निर्देशन दिएको हो।
विभागका निर्देशक महेन्द्रनाथ भट्टराईका अनुसार अफगानिस्तानमा हाल दुई म्यानपावर कम्पनीबाट गएका श्रमिक मात्र रहेका छन्। रोजगारीका लागि अफगानिस्तान पुगेका नेपालीको अवस्थाबारे यकिन विवरण जानकारीमा राख्न तथा उद्दारका लागि पहल गर्न म्यानपावर कम्पानीहरुलाई निर्देशन दिइएको निर्देशक भट्टराईले बताए ।
उनका अनुसार अफगानिस्तानको कुन ठाउँमा कुन अवस्थामा नेपालीहरु छन् भन्ने जानकारी लिने र त्यसले उनीहरुको उद्दार गर्न सहज हुने छ। हाल अफगानिस्तानमा विद्रोही संगठन तालिवानले विभिन्न शहरहरु नियन्त्रणमा लिन थालेकाले विभिन्न देशले आ–आफ्ना नागरिक फिर्ता लैजान थालेका छन् । |
हैटीको भूकम्पबारे त्यहाँ कार्यरत नेपालीको बर्णन, एक नेपाली घाइते अरू सकुशल (तस्वीरहरु सहित) वासिंगटन डिसी। क्यारेवियन मुलक हैटीमा अगष्ट १४ तारिक शनिवार विहान गएको ७ दशमलव २ रेक्टर स्केलको विनासकारी भूकम्पमा परी एकजना नेपाली घाइते भएका छन्। उनको खुट्टा भाँच्चिएको छ तर खतरामुक्त छन्। उनी उपचारपछि आफ्नो निवासस्थान फर्किइसकेका छन्।
अमेरिकासँग जलमार्गबाट सीमा जाेडिएकाे तर गरीब र राजनीतिक एवं प्राकृतिक प्रकाेपसमेतले पीडित बनेकाे हैटीमा भूकम्पकाे केन्द्रविन्दू निम भन्ने स्थानमा थियाे। केन्द्रविन्दू रहेको निम भन्ने ठाउंमा सडक निर्माण कार्यमा संलग्न धारन स्थायी घर भएका सुविन राई घाइते भएको र उनको अवस्था सामान्य रहेको हैटी सरकारको सल्लाहकार पदमा कार्यरत नेपाली शान्ति पौडेलले डिसी नेपाललाई बताए।
पौडेलका अनुसार, भूकम्पको केन्द्रविन्दू रहेको निम भन्ने ठाउंमा जम्मा २ जना नेपालीहरु बसोबास गर्छन् । ती मध्येका एक राईमात्र घाइते भएका हुन्। उनी पनि भूकम्प आएको थाहा पाएपछि भाग्ने क्रममा घाइते भएका थिए।
हैटीको राजधानी पोर्ट औ प्रिन्समा शान्ति एयरलाइन्ससमेत सञ्चालन गरेर बसेका हवाइजहाज र हेलिकोप्टरसमेत चलाउने पाइलट एवं सरकारका सल्लाहकार पौडेलले दिएको जानकारीअनुसार, हैटीमा जम्माजम्मी एकसय जतिको संख्यामा नेपालीहरु कार्यरत रहेकोमा अरु सबै सकुशल छन्।
“अहिलेसम्म अन्यथा विवरण आएको छैन”, उनले डिसी नेपालसंग भने, “भूकम्पले ध्वस्त भएका दुई शहरहरु लेवाइज र जेरेमीमा जम्मा ९ जना नेपालीहरु कार्यरत रहेकोमा सबै नै सकुशल भएको खवर पाएको छु ।”
उनका अनुसार, निम भन्ने ठाउंको समुद्रको मुनि भूकम्पको केन्द्रविन्दू भएको पत्ता लागेकोले सुनामीको डर यथावत छ । सरकारले समुद्रमा चल्ने सम्पूर्ण यातायातका साधनहरु रोकेको छ, बोट एम्बुलेन्सहरु पनि रोकिएका छन् ।
हैटीका प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीलाई भूकम्पबाट प्रभावित स्थानहरुमा हेलिकोप्टर चलाएर आफैंले निरीक्षणमा लगी फर्किएको जानकारी दिंदै पौडेलले हालसम्म ३ सय व्यक्तिहरुको मृत्यु भएको रेकर्ड आइसकेको र ७ हजारभन्दा बढी व्यक्तिहरु घाइते भएको विवरण प्राप्त भएको बताए।
प्रभावित क्षेत्रका कतिपय ठाउँमा मौसम खरावीका कारण हेलिकप्टरसमेत पुग्न नसकेको उनले जानकारी दिए। “ग्राण्डसन्स भन्ने ठाउंमा हेलिकप्टर ल्याण्ड गर्नसमेत सकिएन, यस्तै अरु केही टापुमा पनि पुग्न सकिएको छैन, त्यसैले त्यहाँको अवस्थाबारे थप जानकारी प्राप्त हुन सकेको छैन”, उनले भने, प्रभावित क्षेत्रहरुमा बाटोहरु भत्किएका छन्, पुलहरु भत्किएका छन्, त्यसैले सडकबाट पुग्न सक्ने अवस्था छैन, मौसम खराब भएर आज जहाजबाट पनि कतिपय ठाउँहरुमा पुग्न सकिएन।’
हैटीको राजधानी पोर्ट औ प्रिन्समा भने हालसम्म ठूलो क्षति भएको विवरण प्राप्त नभएको उनले बताए । सन् २०१० को भूकम्पमा भने राजधानीमै बढी क्षति भएको थियो हजारौं मानिसहरु मरेका थिए ।
तस्वीरहरु सबै शान्ति पौडेल |
श्रमिकले अब म्यानपावरमार्फतै कोरोनाविरुद्ध खोपको प्रमाणपत्र पाउने काठमाडौं । वैदेशिक रोजगारमा जाने श्रमिकहरुले अबदेखि क्यूआर कोडसहितको विद्युतीय खोप प्रमाणपत्र म्यानपावर कम्पनीमार्फत् नै पाउने भएका छन् । शुक्रबार वैदेशिक रोजगार विभागले सो को बारे सूचनामार्फत जानकारी गराएको हो ।
कोरोनाविरुद्ध खोपको पूर्ण मात्रा लगाएर संस्थागत रुपमा वैदेशिक रोजगारीमा जान चाहनेहरुले सम्बन्धित इजाजतपत्रवाला म्यानपावरबाटै अनलाइन फारम भरी क्यूआर कोडसहितको प्रमाणपत्र निःशुल्क लिन पाउने व्यवस्था गराउन विभागले अनुरोध गरेको छ । साथै, वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिहरुको कोभिड–१९ खोपको विवरण प्रस्तुत लिङ्क https://vaccine.mohp.gov.np मा भरी सोही लिङ्कमार्फत क्यूआर कोडसहित प्रमाणपत्र निःशुल्क रुपमा उपलब्ध गराउने व्यवस्था गरिएकाले सो अनुसार गर्न गराउन हुन सबै इजजातपत्रवालालाई सूचित गरेको छ ।
त्यसैगरी, व्यक्तिगत श्रम स्विकृति लिनेले उक्त वेभसाइडमा गएर आफैँले भर्न सक्ने छन् । यदि कठिनाई भएमा नजिकमा रहेको स्वास्थ्य संस्था वा स्वास्थ्य सेवा विभागबाट निःशुल्क सहयोग लिन सक्ने छन् ।
त्यस्तै, आफ्नो आवेदनको प्रमाणपत्र हेर्न तथा प्रमाणपत्र डाउनलोड गर्न https://vaccine.mohp.gov.np/search मा गएर हेर्न सकिन्छ ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्वास्थ्य मन्त्रालयबीच भएको छलफलमा उक्त खोप प्रमाणपत्र स्वास्थ्य सेवा विभागले म्यानपावर कम्पनीको मेलमा पठाउने सम्झौता भएको हो ।
यसअघि वैदेशिक रोजगारीमा जाने युवाहरु अव्यवस्थित र झन्झटिलो प्रणालीका कारण खोप प्रमाणपत्र लिन घण्टौँ लाइन कुर्नुपर्ने बाध्यता थियो । जसले गर्दा कतिपयको विदेश जाने टिकटसमेत क्यान्सिल गर्नुपर्ने वाध्यताले आर्थिक भार थपिने गरेको थियो ।
|
एनआरएनए अमेरिकाका निर्वाचन आयुक्तले गरे विद्रोह, डेलिगेट निर्वाचन अवैधानिक वासिंगटन डिसी । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको निर्वाचन आयोगका एकजना आयुक्तले नै निर्वाचन आयोग व्यक्तिगत पक्षपातमा लागेको आरोप लगाउँदै जारी कार्यविरुद्ध बिद्रोह गरेका छन् । उनले आज गरिने भनेको डेलिगेट निर्वाचनमा विधि र प्रक्रियाविना नै गर्न लागिएको भन्दै आफ्नो यो प्रक्रियाका कुनै आफ्नो सहमती नभएको भन्दै प्रमुख निर्वाचन आयुक्त विश्व बराललाई पत्रै लेखेर विद्रोह गरेका हुन् । उनले जारी प्रक्रियाप्रति विरोध प्रकट गरेका छन् ।
निर्वाचन आयुक्त कुलमणि आचार्यले हिजो १२ अगष्ट सांझ प्रमुख निर्वाचन आयुक्त विश्व बराललाई एक पत्र लेख्दै नेपालीहरुको साझा संस्था एनआरएनएमा एकपक्षीय कामहरु हुनबाट रोकिनुपर्ने भन्दै आज हुने भनिएको कथित डेलिगेट निर्वाचनको बैधानिकता नहुने बताएका छन् ।
एनआरएनए अमेरिकाले षड्यन्त्रपूर्ण ढंगले साधारण सदस्यहरुलाई उम्मेद्वार हुनबाट बन्चित गरी केही आफ्ना मान्छेको नाम उम्मेद्वारका रुपमा राखेर आज अर्थात् १३ अगष्टमा निर्वाचन गर्ने सूचना ११ अगष्टमा जारी गरेको थियो । साधारण सदस्यहरुलाई एनआरएनए आईसीसीको निर्वाचनमा डेलिगेट हुन पाउने गरी विधानमा २५ प्रतिशत सिट छुट्याइएकोमा इच्छुक व्यक्तिहरुलाई उम्मेद्वार नै हुने मौका नदिइकन गर्न लागिएको कथित निर्वाचनबारे निर्वाचन आयुक्तले यस्तो गैरकानूनी निर्वाचनमा आफ्नो संलग्नता नभएको पनि स्पष्ट उल्लेख गरेका छन् ।
डिसी नेपाललाई प्राप्त सो पत्रमा निर्वाचन आयोगको बैठक पनि नबसेको र निर्वाचन गराउनेबारे कुनै छलफल पनि नभएको भन्दै विधि र प्रक्रियालाई उपेक्षा आफ्नो जानकारी विना नै निर्वाचन गराउने सूचना जारी गरिएकोमा उनले आपत्ति प्रकट गरेका छन् । उनको पत्रमा भनिएको छ,“ निर्वाचन आयोग साधारणसभाबाट गठित स्वतन्त्र र निष्पक्ष निकाय हो । यसका लागि गतिविधि पांचैजना सदस्इहरुको निर्णयबाट लिइनुपर्छ । तर, न त इलेक्सन कमिशनको डेलिगेट निर्वाचनको छलफलको लागि अहिलेसम्म एउटा बैठक बसेको छ न त कुनै विषयमा सहमती नै गरिएको छ । यो प्रक्रिया विना नै इलेक्सन नोटिस जारी गर्नु आफैंमा विधि र प्रक्रियाको उपेक्षा हो । त्यसैले आफ्नो जानकारीविना नै भएका निर्णयहरुप्रति म असहमती जनाउन चाहान्छु ।”
“एनआरएनए एनसीसी अफ युएसए को आईसीसी डेलिगेट इलेक्सन सम्बन्धमा असहमति पत्र” शीर्षकमा निर्वाचन आयुक्त आचार्यले संस्थाको कानुनी व्यवस्थासमेत उल्लेख गर्दै गैरकानूनी काम नगर्न प्रमुख निर्वाचन आयुक्त विश्व बराललाई सचेतसमेत गराएका छन् । उनले लेखेका छन्,“ एनआरएनए आईसीसी महासचिवको पत्रमा उल्लेख भएअनुसार, आईसीसी विधानको दफा १३.७(क) अनुसार, २५ प्रतिशत(४७) जना प्रतिनिधिहरु पञ्जीकृत सदस्यहरुलाई प्रत्यक्ष निर्वाच्न गरी चयन गर्न निर्देशन गरिएको छ । जसमा इलेक्सन कमिशन ले विगतमा एनआरएन एनसीसी युएसए को विधानको आशयलाई ध्यानमा राख्दै २९ जना च्याप्टर बाट र १८ जना ओपन इलेक्सन गर्ने निर्णय गरेको थियो ।
एनआरएन एनसीसी युएसए को वाइलज् को इलेक्सन सम्बन्धी व्यवस्थामा कुनै पनि लेवलको इलेक्सन गराउनु परेमा इलेक्सन कमिशन लाई अधिकार प्रधान गरेको छ । त्यसकारण १८ जनाको मात्र इलेक्सन कमिशनले फर्म भराई शुल्कसमेत जम्मा गर्ने तर अन्य २९ जनाको प्रक्रियाविना नै चयन गर्ने कुरा असमान र अन्यायपूर्ण पनि हो । त्यसैले २९ जना पनि सहमतीको आधारमै भए पनि इलेक्सन प्रोसेसबाट नै चयन गर्नुपर्ने हुन्छ जुन कुरा आईसीसीको प्रावधानअनुसार मेल खान्छ ।” हेर्नुहोस् पत्र
उनले ६५ प्रतिशत कोटामा पर्ने डेलिगेटमा को को परे भन्ने कुरा निर्वाचन आयोगले आजसम्म पनि सार्वजानिक नगरेकोमा पनि उनले प्रश्न उठाएका छन् । ६५ प्रतिशत कोटामा नपर्नेहरुले डेलिगेट पदमा उम्मेद्वार दिन पाउनु साधारण सदस्यहरुको अधिकार भएको भन्दै उनले त्यो लिष्ट प्रकाशित गरेपछि त्यसमा नपर्नेहरुले पनि उम्मेद्वारी दिन पाउनुपर्ने अधिकारलाई कुण्ठित गर्नु जायज नभएको उनको तर्क छ । |
वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने अभिमुखीकरण तालिम पुनःबन्द काठमाडौं । कोरोना महामारीको सङ्क्रमण बढ्दै गएपछि वैदेशिक रोजगारीमा जाने श्रमिकलाई भौतिक उपस्थितिमा दिइने अभिमुखीकरण तालिम पुनःबन्द गरिएको छ । कोरोना सङ्क्रमण रोकथामको लागि भन्दै उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरूले साउन २८ देखि भदौ ८ सम्म निषेधाज्ञा थप गर्दै यस्ता तालिम सञ्चालनमा रोक लगाएको हो ।
अब यहि साउन २८ गतेदेखि विदेश जानेले भौतिक उपस्थितिमा तालिम लिन नपाउने भएका छन् । विदेश जानेहरूले हाल दुुई दिने भौतिक उपस्थितिमा नै तालिम लिनुपर्ने बाध्यता छ तर तालिम नै लिन नपाउने भएपछि विदेश जानका लागि अन्तर्वार्ताबाट छनोट भएका, भिसा आएका श्रमिकले श्रम स्वीकृति लिन पाउने छैनन् ।
अभिमुखीकरण तालिम प्रदायक संस्था देशका विभिन्न जिल्लामा सञ्चालनमा रहे पनि धेरै सङ्ख्यामा काठमाडौँ उपत्यकामा नै रहेका छन् । यद्यपि काठमाडौँ उपत्यकामा तालिम लिन निषेध भए पनि अन्य जिल्लामा रहेका तालिम केन्द्रबाट तालिम लिन सकिने अवस्था भने कायमै छ । |
एनआरएनए पोर्चुगलको अध्यक्षमा रविन र महासचिवमा राजकुमार विजयी लिस्बन । गैरआवासीय नेपाली संघ पोर्चुगलको अध्यक्षमा रविन अधिकारी र महासचिवमा राजकुमार थापा निर्वाचित भएका छन् । त्यसैगरी आईसीसी सदस्यमा भिमसेन थापा चुनिएका छन् । भिमसेन यसअघि वरिष्ठ उपाध्यक्ष थिए भने रबिन आईसिसी सदस्य थिए । राजकुमार पत्रकार हुन्, उनी नेपाल पत्रकार महासंघ युरोप शाखाका उपाध्यक्षसमेत छन् ।
बुधबार राति घोषित नतिजाअनुसार, उनीहरुले आफ्ना प्रतिस्पर्धीलाई ठूलो मतान्तरले पराजित गरेका हुन् ।
यस्तै वरिष्ठ उपाध्यक्षमा सिता श्रेष्ठ, महिला उपाध्यक्षमा दिपा काफ्ले तथा उपाध्यक्षहरुमा उमेशकुमार खड्का र दिनेश भण्डारी निर्वाचित भएका छन् ।
सचिवमा रवि अर्याल र राजेश दुलाल, कोषाध्यक्षमा युवराज खनाल र सह–कोषाध्यक्षमा नविन सापकोटा निर्वाचित भएका छन् । त्यस्तै महिला संयोजक सिता ढकाल निर्वाचित भइन् । लेखा संयोजकमा विशाल आचार्य र युवा संयोजकमा प्रकाश अधिकारीलगायत कार्यसमितिका सदस्यहरु यसअघि नै निर्विरोध भएका थिए ।
१६८८ मतदाता रहेकोमा निर्वाचनमा जम्मा १ हजार ५ मत खसेको थियो ।
गणनापछिको अन्तिम नतिजाः
|
एनआरएनए अमेरिकामा षड्यन्त्रपूर्ण चलखेल न्यूयोर्क । गैरआवासीय नेपाली संघ अमेरिकाले अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचनमा प्रतिनिधि पठाउन घिनलाग्दो चलखेल गरेको छ ।
अमेरिकाबासी एनआरएनए अमेरिकाका सदस्यहरुबाट निर्वाचन गरी छान्नु पर्ने ४७ जना प्रतिनिधिहरुका लागि उम्मेद्वार सार्वजानिकरुपमा आह्वान गर्नुपर्नेमा गुपचुपरुपमा आआफ्ना मान्छेलाई उम्मेद्वार बनाई मतदानका लागि मात्र सूचना प्रकाशित गरिएको छ । त्यो पनि जुलाई ४ मा न्यूयोर्कमा सम्पन्न साधारणसभामा अविश्वासको प्रस्ताव दर्ता भइसकेको पुरानो निर्वाचन समितिमार्फत यस्तो सूचना प्रकाशित भएको हो । (हेर्नुहोस् सूचना)
वार्षिक साधारणसभामामा तत्कालीन अध्यक्ष सुनील साहले निर्वाचन समितिविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको विवरण हलभित्र पढेर सुनाएका थिए । तर, त्यसबारे के निर्णय भयो भन्नेबारे भने साधारणसदस्यहरुलाई कुनै जानकारी दिइएको छैन । (हेर्नुहोस् प्रस्ताव दर्ता सम्बन्धी पत्र)
अमेरिकाबाट ६५ प्रतिशत पुरनो कार्यसमितिले छनौट गर्नु पर्ने संख्यामा बाहेक अन्य ३५ प्रतिसतमध्ये १० प्रतिशत निर्वाचित कार्यसमितिले छान्ने र बांकी २५ प्रतिशतले हुने ४७ जनाको निर्वाचनबारे चलखेल भएको हो । खास गरी डेलिगेट्को २५ प्रतिशत संख्या २०,००० सदस्यमध्ये बाट चुनावबाट छानिनु पर्नेमा बिगठित भैसकेको , अबिस्वासको मत दायर भैसकेको निर्वाचन समितिले अगस्ट ११ मा सूचना जारी गर्दै अगस्ट १३ मा चुनाव हुँदैछ भनेर सूचना सार्वजानिक गरेको छ ।(हेर्नुहोस् सूचना)
डेलिगेट छनौटको लागि उम्मेद्वारीको लागि कहिले आह्वान गरियो, कति जना, कति प्रतिशत , कस्ले , कहिले गर्ने भन्ने कुरा एन सी सी भित्र केही छल्फल नै भएको छैन । एनआरएनए अमेरिकाका उपाध्यक्ष विकास उप्रेतीले डिसी नेपालसंग भने, ‘यसको बारेमा कुनै छलफल भएको छैन ।’ निर्वाचन समितिका एक सदस्यका अनुसार, २५ प्रतिशतमा पनि जम्मा १८ जनाका लागिमात्र चुनाव गर्ने गरी प्रक्रिया अघि बढाइएको छ र त्यो पनि सर्वसाधारणलाई उम्मेद्वार हुन पाउने सूचनासमेत दिइएको छैन ।
यसअघि एटर्नी वासु फुलारालाई निमित्त निर्वाचन प्रमुख बनाएर १८ जनाका लागि उम्मेद्वारी माग गरिएको थियो र सो प्रक्रियालाई गैरकानूनी भन्दै आईसीसीले नै तत्काल निर्वाचनको काम रोक्न निर्देशन दिएको थियो । त्यतिबेलाकै उम्मेद्वारको सूचिलाई अहिलेका लागि कायम गरेर चुनाव गर्ने सूचना जारी गरिएको छ । साधारण सदस्यहरुलाई उम्मेद्वार हुने मौका दिएरमात्रै चुनाव हुनुपर्नेमा त्यसो नगरी उतिबेलै रद्ध भइसकेको उम्मेद्वारलाई नै कायम राखेर अरुलाई मौकासमेत नदिई नयां निर्वाचन गराउने सूचना निकाल्नुले एनआरएनए अमेरिकाको गुटगत षड्यन्त्र छताछुल्ल भएको हो । ४७ जनाको चुनाव हुनुपर्ने कानुनी व्यबस्था भएपनि २९ जना च्याप्टर अध्यक्षलाई मनोनयन गर्ने आफूखुसी निर्णय गरिएको छ ।
साधारण सदस्यले उम्मेद्वार हुन नपाउने हो भने कस्का लागि अमेरिकाको एनआरएनए बनाइएको हो रु भन्ने प्रश्न उठेको छ । के यो नेपाली कांग्रेसका विभिन्न गुटका राजनीति गर्नेहरुमध्ये अमेरिकामा हावी भएको एउटा गुटका लागिमात्र बनाइएको संगठन हो रु जवाफ कस्ले दिने रु एनआरएनए अमेरिकाका अध्यक्ष बुद्धिसागर सुबेदीले भने आईसीसीले निर्वाचनको काम शुरु गर्न पत्र पठाएपछि यसबारे काम अघि बढाइएको बताए । उनले डिसी नेपालसंग भने, ‘आईसीसीका अध्यक्षले रोकिएको प्रक्रिया फुकुवा गर्न महासचिवलाई निर्देशन दिएको र महासचिवले पत्र लेखेर निर्वाचन गराउन भनेपछि निर्वाचन प्रक्रिया अघि बढेको छ । यसबारे अमेरिकाको कार्यसमितिमा समेत इमेलमार्फत सबैसंग राय माग गरिएको थियो । कसैले विरोध गर्नुभएको छैन त्यसैले सर्वसम्मत निर्णय गरेर निर्वाचन आयोगलाई प्रक्रिया अघि बढाउन भनिएको छ ।’
डिसी नेपाललाई प्राप्त आसीसी महासचिव हेमराज शर्माको पत्रमा २५ प्रतिशत डेलिगेटको निर्वाचन गराउन भनिएको छ । यसमा २९ जना च्याप्टर अध्यक्षलाई विनानिर्वाचन छान्न र बांकी १८ जनाको मात्र निर्वाचन गराउन भनिएको छैन । पत्रमा ४७ जनाको निर्वाचन पंजिकृत सदस्यहरुबाट प्रत्यक्ष निर्वाचन गरी पठाउन भनिएको छ । पत्रमा अन्य प्रक्रियाबाट छनौट भएका प्रतिनिधिहरु मान्य नहुने पनि उल्लेख गरिएको छ ।(हेर्नुहोस पत्र)
|
गोर्खाहरूको आमरण अनशनमा बेलायती विपक्षी दलको समर्थन लण्डन। गत शनिबारदेखि बेलायती प्रधानमन्त्री निवास नजिक आफ्ना माग पूरा गर्न आमरण अनशन गरिरहेका भूपू गोर्खाहरूको आन्दोलनप्रति यहाँको प्रमुख प्रतिपक्ष दल लेबर पार्टीले ऐक्यबद्धता जनाएको छ।
विपक्षी लेबर पार्टीले बोरिस जोनसन नेतृत्वको वर्तमान सरकारलाई ब्रिटिस आर्मीसँगै जोडिएर लडेका गोर्खाहरूलाई दिँदै आएको असमान पेन्सन अपमानजनक रहेको र यसको अन्त्य गर्न भनेको छ।
पार्टीका छायाँ रक्षामन्त्री स्टेफन मोर्गनले परराष्ट्र सचिवलाई यसअघि नै पत्र लेखेर असमान पेन्सनका बारेमा तत्काल कदम चाल्न भनिसकेको बताए।
बुधबार स्थानीय सञ्चारमाध्यममा लेबर पार्टीका सांसद मोर्गनले भने, “गोर्खाहरूले २०० वर्ष हाम्रो देशमा सेवा गरेका कारण हाल उठाइएको मुद्दामा हाम्रो चासो र चिन्ता रहेको छ, सरकारले यो अपमानजनक कार्य अन्त्य गर्ने कुरा दुई वर्षअघि नै गरे पनि हालसम्म हुन सकेको छैन, अब यो अपमानजनक कार्य तत्काल अन्त्य हुनुपर्छ, हामी गोर्खाहरूको पक्षमा छौँ।”
उनले तीन गोर्खाले न्यायका लागि मर्न तयार रहेको भनिरहँदा बेलायती समाजमा यो कालो धब्बाका रूपमा देखिने बताए।
अनशनरतमध्येका एक धन गुरुङले भने, “हाम्रो पुर्खाले यो देश बचाउन प्राण आहुति गरे, अब हामीले न्यायका लागि प्राण त्याग्न तयार हुनुपरेको छ।”
यसै सन्दर्भमा रक्षा मन्त्रालयका प्रवक्ताले बेलायती सेनामा गरेको ठूलो योगदानको मूल्याङ्कन गरेर गोर्खाहरूको उपचार र पेन्सनको व्यवस्था गरेको तथा बेलायतको पेन्सन प्रावधानलाई ध्यानमा राखी उचित र न्यायोचित पेन्सन वितरण गर्न प्रतिबद्ध रहेको बताएका छन्। रासस |
सिंगापुर पठाइदिन्छु भनि ठगी गर्ने एक पक्राउ, अन्यको खोजि हुँदै काठमाडौं । सिंगापुर पठाइदिन्छु भन्दै सयौं युवाहरुलाई ठगी गरेको अभियोगमा समृद्धि अब्रोड नामक कन्सलटेन्सीका मार्केटिङ म्यानेजर दिप बहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–६ बौद्ध बस्ने धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका–४ घर भएका ३९ वर्षीय गुरुङले सिंगापुर पठाइदिन्छु भन्दै २ करोड ६१ लाख ५५ हजार रुपैयाँ ठगी गरेका थिए ।
काठमाडौं महानगरपालिका–५ हाडीगाउँस्थित धादिङ थाक्रे गाउँपालिका–८ घर भएका ४२ वर्षीय निमा लामाले संचालन गरेको उक्त कन्सलटेन्सीले करिब ७८ जनासँग सिंगापुर रोजागारीको लागि पठाइदिने भनी भिजा प्रोसेस लगायतका लागि उक्त रकम उठाएका थिए । पैसा उठाएपछि सम्पर्कबिहिन बनेका अन्यको खोजि भइराखेको प्रहरीले बताएको छ ।
ठगी कार्यमा संलग्नमध्ये गुरुङलाई पक्राउ गरी उनी उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ । साथै ठगी कार्यमा संलग्न हाल फरार कम्पनीका संचालक सहित ४ जनाको खोजी भइरहेको छ । |
१० औं वार्षिकोत्सवका अवसरमा न्यूयोर्कमा मिस नेपाल यूएसए २०२१ आयोजना गरिने वाशिङ्गटन डिसी । मिस नेपाल अमेरिकाको १० औं वार्षिकोत्सवका अवसरमा न्यूयोर्कमा मिस नेपाल अमेरिका आयोजना गरिने भएको छ । सेप्टेम्बर २३ देखि २५ सम्म न्यूयोर्कमा मिस नेपाल अमेरिकाको वार्षिकोत्सव समारोह भव्य रुपमा मनाइने भएको हो ।
नेपालकी चर्चित सञ्चारकर्मी, अभिनेत्री, प्रस्तोता, समाजसेवी साथै मिस नेपाल समेत रहिसकेकी माल्भिका सुब्बालाई प्रतिस्पर्धाको मुख्य प्रशिक्षकका रुपमा नियुक्त गरिएको छ । सुब्बालाई प्रतिस्पर्धीहरुको व्यक्तित्व विकास र सौन्दर्य निखार्नमा सघाउनेछन् ।
अमेरिकामा बसोबास गर्दै आएका नेपाली युवतीहरुले मिस नेपाल युएसको आधिकारिक वेबसाइट वा मिस नेपाल यूएस २०२१ का आयोजकसँग सम्पर्क गरेर आफ्नो आवेदन बुझाउन सकिने बताइएको छ । आवेदन दर्ता गर्ने समय सीमा सेप्टेम्बर १ सम्म रहेको छ ।
नेपाली−अमेरिकी सामाजिक उद्यमी अमित शाहद्वारा शुरू गरिएको मिस नेपाल युएस प्रतिस्पर्धा अमेरिकामा बसोबास गर्दै आएका नेपाली युवाहरुका लागि नेटवर्कीङ, सशक्तिकरण, क्षमता प्रस्फुटन र पहिचानका लागि उचित मञ्च बनेको छ । साथै यस प्रतिस्पर्धाले नेपाल र अमेरिका दुवै देशको सांस्कृतिक विविधतालाई समेत उजाँगर गरेको छ ।
मिस नेपाल यूएस प्रतिस्पर्धाले हालसम्म नेपाली−अमेरिकी महिलाहरुलाई शिक्षा र सशक्तिकरणका निमित्त विभिन्न च्यारिटीमार्फत् ८० हजार डलर्स बराबरको सहयोग प्रदान गरिसकेको छ । त्यसैले पनि यस कार्यक्रमले महिलाहरुलाई छात्रवृत्ति प्राप्त गर्न, आफ्नो नेटवर्क बृद्धि गर्न, जीवनोपयोगी कला अभिवृद्धि गर्न र आफ्नो समुदायमा केही योगदान पुर्याउने अवसर जुटाइदिएको छ ।
मिस नेपाल युएसको इतिहास २०११ मा न्यूयोर्क शहर बाट सुरु भएको थियो जसमा सुजिता बस्नेतले पहिलो मिस नेपाल युएसको ताज पहिरिएकी थिइन् ।
पहिलो संस्करणदेखि नै अन्तर्राष्ट्रिय र स्थानीय मिडियाहरुको राम्रो कभरेज पाइरहेको यस कार्यक्रमलाई न्यू योर्क, भर्जिनिया, नेब्रास्का लगायत प्रदेशका गर्भनर, यूएस राजदूतावास लगायत संस्थाले आधिकारिक मान्यता समेत प्रदान गरेका छन् ।
भोलिका दिनमा आफ्नो समुदाय र संस्कृतिका पक्षमा वकालत गर्नसक्ने साथै नेतृत्व लिन सक्ने युवाहरुको उत्पादनमा यस कार्यक्रमले विगत १० वर्षदेखि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको कार्यक्रमका संस्थापक तथा अध्यक्ष अमित शाह बताउँछन् ।
|
नेपाली ट्रक यात्राका कथामा अमेरिकामा बन्यो फिल्म वाशिङ्गटन डिसी । नेपालका सडकमा प्रायः रहिरहने खाल्डाखुल्डीलाई छिचोल्दै र आफ्नो ज्यानलाई हत्केलामा राखेर गाडी चालकले पूर्व काँकडभिट्टादेखि पश्चिम महाकालीसम्म गुड्ने ट्रकको कथालाई एक अमेरिकीले फिल्म (डकुमेन्ट्री) मा समेटेका छन् । “टयाटुड ट्रक्स अफ नेपाल( हर्न प्लिज” नाम दिइएको उक्त फिल्ममा नेपालको पारवाहन क्षेत्रको एक महत्वपूर्ण साधन मानिएको ट्रक र ५७ वर्षअघिको नेपालको सडकको कथा छ । साथै नेपालमा भन्ने गरिएको ट्रक साहित्य र ट्रक सजाउन प्रयोग भएका कला र आकृतिलाई पनि नेपालको संस्कृतिसँग तुलना गरिएको छ ।
साँघुरा घुम्तीहरुमा उकालो ओरालो मापन गर्दै स्टेरिङ्ग घुमाउन खप्पिस चालकहरुको आनीवानीदेखि भोगाईसम्मलाई यो डकुमेन्ट्रीमा समेटिएको छ । करिब ५७ वर्षअघि यस्तै एक ट्रकको पछाडि बसेर काठमाडौँबाट चितवनको नारायणगढ उत्रिएका २३ वर्षीय अमेरिकी रन रयान्सनले तयार पारेको उक्त फिल्मले सडकभित्रका यी अनेक कथालाई मात्र समेटेको छैन यसले नेपालका बहुआयामिक सांस्कृतिक र सामरिक पाटोका साथै सामाजिक, आर्थिक विषयलाई समेत यसमा उनेको छ ।
त्रिशुली नदीको किनारै किनार निष्पट्ट अँध्यारो रातलाई छिचोल्दै र चालकको अड्कलबाट घुम्तीहरु काट्दै तथा कालो धुँवाको मुस्लो छोड्दै कुद्ने मालवाहक ट्रकको कथा आफैँमा रोमाञ्चक छ । त्यसमाथि अनेकन पात्र र प्रवृत्तिका मानव समुदायको बसोबास रहने काठमाडौँ जान आवश्यक सामान पिठ्यूँमा बोकेर लम्किएका मानिस र ट्रकका कथाहरुलाई तिनका चालक र सहयोगीहरुका दैनिकी पनि निकै रोमाञ्चक रुपमा यस फिल्ममा समेटिएका छन् । मानिसका यी चुनौतीमाथि सडकको कहालीलाग्दो अवस्था त जोडिएकै छ । अहिले पनि पहिलो पटक यात्रा गर्नेहरुका लागि यो जोखिमपूणर् यात्रा नै हो । त्यसमाथि आधा शताब्दी अगाडि राजधानी जोडने एक मात्र राजमार्ग कस्तो थियो होला ? अहिले त सहजै अनुमान गर्न पनि सकिन्न । यस्तै विषयहरुको व्याख्या भोलिको पुस्तालाई रोमाञ्चक इतिहास बन्न सक्छ । यो डकुमेन्ट्रीमा त्यसबेलाको परिस्थिति र अवस्थालाई त्यसैगरी पस्किएका छन् रनले ।
अमेरिकामा कला र नाटक अध्यापन गराउने उहाँको नेपालसँगको सम्बन्ध र पछि नेपाली भूमिप्रति बढ्दै गएको मोह पनि कम रोचक छैन । सन् १९६४ मा एउटा पिस क्रप्स स्वयंसेवकको रुपमा जोडिएको नेपालको साइनो अहिले आएर फिल्ममा उतार्न पाउँदा उनी खुशी छन् । कुराकानीको क्रममा पटकपटक उनले यो प्रयास आफ्नो जीवनकै महत्वपूर्ण उपलब्धि भएको टिप्पणी पनि गरे ।
आफ्नो विगतबारे स्मरण गर्दै उनले नेपालको बहुआयामिक पाटोका बारेमा चर्चा गरेका छन् । सन् १९६४मा जब उनीलाई अमेरिकी सरकारको पिस क्रप्सका प्रतिनिधिले विभिन्न देशको नाम दिए, उनले नेपाल नै रोजे । जब उनलाई नेपालको बारेमा जानकारी दिँदै ती अधिकारीले सोधे त्यसपछि आफूमा ऊर्जा आएको अनुभव रनको छ । आजभन्दा ५७ वर्षअघिको स्मरण गर्दै उनले भने, “मलाई नेपालको बारेमा जानकारी थिएन, तसर्थ मैले एट्लस (विश्वमान चित्रको जानकारी दिने पुस्तक) पल्टाएर नेपाल देश खोजँे । एउटा सानो भूगोल भएको यो देशमा मलाई उर्जा दिने धेरै कुरा भेटेँ । त्यसपछि नै नेपाल जाउँ जाउँ लाग्यो ।”
उनले जब नेपाल जाने भनेर मनस्थिति बनाए, त्यसपछि नेपालबारे पाएसम्मको जानकारी लिने प्रयत्न गरे । नेपाल दुई वर्ष बसेर नेपाली परिवेशलाई पछ्याउँदै आफ्नो स्वयंसेवी सेवामा योगदान पुर्याएका रनलाई साँच्चै नै नेपालले मोहनी लगायो । त्यसपछि उनी धेरै पटक नेपाल पुगेका छन् । अमेरिकाबाट १० हजार माइल टाढा रहेको नेपालका बारेमा अझै कतिपय अमेरिकीहरुलाई पर्याप्त जानकारी पनि छैन । तर पाँच दशकदेखि जोडिएका रनले भने नेपालको कला संस्कृतिको समेत जानकारी दिने गरी कथा लेख्ने र त्यसलाई फिल्ममा उतार्न सक्नु उहाँको क्षमता र लगाव दुवै हो ।
नेपाल पुगेर उनले त्यो बेला भर्खरै बस्ती बस्दै गरेको चितवनको नारायणगढमा रहेको चितवन हाईस्कूलमा स्वयंसेवक शिक्षकको रुपमा काम गरे । त्यो बेलादेखि नै अमेरिकी स्वयंसेवकहरुले शैक्षिक रुपान्तरणको लागि शिक्षक स्वयंसेवकहरुले खेलेको भूमिकाको बारेमा चर्चा गर्दै हालसालै अमेरिकाका लागि नेपालका राजदूत डा युवराज खतिवडाले भनेका थिए, “७० वर्ष अगाडि नै अमेरिकीहरु गएर स्वयंसेवी भावका साथ शिक्षा स्वास्थ्यको क्षेत्रमा निर्वाह गर्नुभएको भूमिकाले नै नागरिकस्तरको सम्बन्ध मजवुत बनाउन महत्वपूणर् भूमिका खेलेको थियो ।”
डा खतिवडाको विचारमा बल दिने गरी रन भन्छन्, “त्यो बेला एक त छात्राहरुको सङ्ख्या कम हुने त्यसमा पनि नाटक खेल्न छात्राहरुलाई स्टेजमा पुर्याउनु भनेको क्रान्तिकारी कदम नै थियो तर मैले त्यो कदमलाई मूर्त रुप दिन सफल भएको थिएँ ।”
“अभिभावक र शिक्षकहरुको समेत समन्वयमा छात्राहरुको आत्मबल वढाउन गरिएको त्यो कामले अहिले पनि मलाई निकै खुशी लाग्छ ।” आठ दशकको उमेर पार गरिसकेका रनले उत्साहित हुँदै आफ्नो अनुभूति सुनाए । रन जस्तै तीन हजार ८८० जनाले अमेरिकाबाट अर्को गोलार्द्धमा रहेको नेपाल पुगेर आफ्ना ज्ञान र सीपमार्फत सामाजिक रुपान्तरणमा महत्वपूर्ण योगदान पुर्याउन सफल भइसकेका छन् ।
नेपाली माटो र कथालाई फिल्ममा उतार्न सफल रन अहिले यसैमा दंग छन् । नेपाल जस्तो एक भुपरिवेष्ठित देशको विकासको महत्वपूर्ण आधार नै सडक हो र त्यही सडकमा दौडिरहने ट्रक एक महत्वपूर्ण साधन हो । ती ट्रकमा कोरिएका चित्रहरुले ट्रकको सुरक्षा, भावना, आध्यात्मिक चेत, नेपाली परम्परा, पारिवारिक सम्बन्धदेखि ट्रक साहित्यसम्म देख्न पाइएको उनको अनुभव छ ।
ट्रकमा लेखिएको सायरीदेखि आन्तरिक रुपमा सजावटका लागि प्रयोग भएका विभिन्न वस्तुलाई फिल्ममा उतारेर नेपाली कला संस्कृतिलाई अमेरिकासम्म पुर्याउन उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।
ट्रकमा उतारिएका विभिन्न देवीदेवताका विभिन्न रुपका चित्रहरुले पनि नेपाल कला संस्कृतिमा धनी भएको सन्देश दिएको कुरा पनि फिल्ममा समेटिएको छ । परापूर्वकालदेखि अहिलेसम्म नेपाली परिवेशमा हिन्दू र बुद्ध धर्मका देवीदेवताको आकृति झल्कने वास्तुकला, काष्ठकलाले पनि नेपाललाई बहुसांस्कृतिक र बहुआयामिक पहिचान दिलाएको चर्चा पनि सो फिल्मा गरिएको छ ।
वास्तुकलाको प्यागोडा शैलीका बारेमा व्याख्या गर्दै सोह्र सय वर्ष अगाडिको वास्तुकलालाई त्यसभित्र अटाउन सफल भएको छ । त्यसमा हिन्दू देवीदेवताको चाडपर्वअनुसारको रुप र कलाबारे समेत चर्चा गरिएको छ । अमेरिकी समाजमा ट्याटुको लोकप्रियता अत्याधिक छ । त्यसलाई समेत आकर्षण बनाएर दर्शकहरुमाझ पुर्याउने अभिप्रायले रनले ट्याटुड ट्रक्सको शीर्षक छनौट गरेको देखिन्छ । यसले फिल्मको माध्यमवाट दुई देशबीचको नागरिक तहको सम्बन्धमा इँटा थप्ने काममा योगदान पुगेको धेरैले महसुस गरेका छन् ।
डकुमेन्ट्रीभित्र नेपालमा पहिलो पटक भीमफेदीबाट बोकेर ल्याएइको भनिएको मोटरदेखि शुक्रपथको ७० वर्ष अगाडिको अवस्था र मानिसको चहलपहल फिल्ममा समावेश गरिएको छ । पाँच वर्षभन्दा लामो समय लगाएर बनाइएको डकुमेन्ट्री निर्माणका लागि फोटो ग्राफर तथा इतिहासकार सुदर्शन कार्कीसँग सहकार्य गरेका रनलाई सहलेखकका रुपमा निकोला रयान्सनले सहयोग गरेका छन् । जेजे मिजर र होल्डन सिस्कोको सम्पादनमा निर्माण भएको डकुमेन्ट्रीमा केन केबो, दावा ग्याञ्जेन, डयाल्यान केबो, तोपग्यास लामाले सहयोग गरेका थिए।
केही साताभित्र लोकार्पण गर्न लागिएको डकुमेन्ट्रीलाई विभिन्न चलचित्र महोत्सवमा प्रदर्शन गरिने र एयरलायन्सहरुसँग सहकार्य गरेर यात्रामा देखाउन पहल गरिने योजना रहेको रनले जानकारी दिए । रासस |
नेपाली मजदुर एकता समाज मलेसियाको प्रथम अधिवेशन खुला प्रतिष्पर्धाबाट हुने मलेसिया। मजदुरका लागि मजदुर अभियान नेपाली मजदुर एकता समाज मलेसिया समितिको प्रथम अधिबेशन खुल्ला प्रतिस्पर्धाबाट हुने भएको छ।
गैरसरकारी, गैरराजनीतिक तथा गैर मुनाफा मुखी रहने प्रतिबद्धतासहित स्थापना भएको नेपाली मजदुर एकता समाज मलेसिया समितिको प्रथम अधिबेशन आउँदो आइतबार १५ अगस्टमा हुने नेपाली मजदुर एकता समाज मलेसिया समितिका निबर्तमान अध्यक्ष रामप्रसाद सुबेदी संगमले जानकारी दिए।
अधिबेसनलाइ थप प्रभाबकारी बनाउन ३ सदस्यीय निर्वाचन समिति गठन गरि सम्पुर्ण जिम्मेवारी निर्वाचन समितिलाई दिइएको छ निर्वाचन समितिको संयोजकमा तिलोचन गौतमलाई जिम्मेवारी दिईएको छ भने सदस्यहरुमा आर एन चौधरी थारु र रेश्माकला राईलाई जिम्मेवारी दिइएको छ।
आगामी आइतबार हुने अधिबेशनमा नेपाली मजदुरका हिक हितका निम्ति काम गर्न चाहाने र मलेसियामा श्रम गरिरहेका नेपाली श्रमिकहरुले संस्था को बिधान संम्बत रहेर जुनसुकै पदका लागि आगामी बिहिबार बेलुकी ५ बजेसम्म निर्वाचन समितिमा खुला उमेदवारी दर्ता गरि प्रतिस्पर्धा गर्न सकिने छ ।
स्वदेश देखि प्रवास सम्म छरिएर रहनु भएको सम्पुर्ण श्रमजीवी नेपाली दाजुभाइ दिदीबहिनीको श्रम शोषण उत्पीडन र अन्यायको विरुद्धमा न्यायको पक्षमा विना स्वार्थ विना पुर्वाग्रह गैरसरकारी , गैरराजनीतिक तथा मुनाफा रहित रूपमा अभिभावक बन्ने अन्यायमा परेका सम्पूर्ण श्रमजीवी हरुलाइ सम्पुर्ण हिसाबले सहयोग गर्ने मुख्य उद्देश्यले २८ जुलाई २०१९ मा मलेसियाको राजधानी क्वालालम्पुर बाट औपचारिक स्थापना भएर संचालन हुँदै आएको नेपाली मजदुर एकता समाज यतिबेला नेविश्वका विभिन्न मुलुकमा सक्रिय र प्रत्यक्ष श्रमजीवी संग सहकार्य गर्दै आएको संस्था हो। |
इजरायल रोजगारीमा ३० लाखसम्मको चलखेल: विभाग भन्छ, यताउता नलाग्नू काठमाडौं। वैदेशिक रोजगार विभागमा भेटिएका एक युवा भन्दै थिए, ‘अहिलेको इजरायल रोजगारीमा जानको लागि ३० लाख रुपैयाँसम्म डिल भएको छ भनेर केही साथीहरुले पैसा खोजेर ठिक्क पारेका छन्। मेरा २–४ जना साथीहरुले जनही ३० लाख खोजेर इजरायल जान ठिक्क परेर बसेका छन्।’
त्यस्तो पनि हुन्छ र?, भन्ने जिज्ञासामा उनले भने, ‘भैहाल्छ नि। नभए किन उनीहरुले पैसा खोजेर बस्थे त।’ उनले अगाडि भने, ‘तपाईंलाई थाहा छ। पहिला पनि यसरी नै कोरिया रोजगारी खुल्दा भित्रभित्रै सबै सेटिङ्ग गरिएको थियो रे। त्यतिबेला भित्रभित्रै सेटिङ्ग गरेर पैसा खुवाउने धेरै जना कोरिया उडेका थिए। यो इजरायलको कोटा पनि त्यस्तै हुन्छ रे।’
ती युवाका अनुसार विभागका केही कर्मचारीहरुले नै इजरायल रोजगारीमा पठाउन सेटिङ्ग गरिराखेका छन् अर्थात् तोकिएको भन्दा बढी पैसा लिएर भित्रभित्रै कर्मचारीले केही श्रमिकलाई इजरायल रोजगारीमा पठाउने तयारी गरिराखेका छन्।
इजरायल जानको लागि अहिले कियर गिभरको लागि खुलेको हो। अनमी, सिएमए गरेको अथवा १२ कक्षा पास गरेर कियर गिभरको तालिम गरेको मान्छे छ भने फारम भर्ने र पढाइमा तयारी गर्ने। यताउता कसले गरिदिन्छु, भनिदिन्छु भन्नेका पछि नलागिकन आफैं तयारी गर्नुस्
उता विभागका महानिर्देशक कृष्ण प्रसाद दवाडी भने युवाहरुलाई कुनैपनि भ्रममा नपरिकन फारम भरे तयारी गर्न आग्रह गर्छन्। उनी भन्छन्, ‘इजरायल जानको लागि अहिले कियर गिभरको लागि खुलेको हो। अनमी, सिएमए गरेको अथवा १२ कक्षा पास गरेर कियर गिभरको तालिम गरेको मान्छे छ भने फारम भर्ने र पढाइमा तयारी गर्ने। यताउता कसले गरिदिन्छु, भनिदिन्छु भन्नेका पछि नलागिकन आफैं तयारी गर्नुस्।’
उनी अगाडि भन्छन्, ‘जीटुजी (नेपाल र इजरायल सरकारबीच भएको सम्झौता) सम्झौता भएर नेपाल सरकारले त्यत्रो हस्ताक्षर गरेको छ। कामदार म पठाउछु भनेर प्राइभेट सेक्टरले भनेकै भरमा विश्वास गर्ने? नेपाल सरकारले निर्णय गरेर सूचना निकालिसकेको छ। अब कसरी पठाउला प्राइभेट सेक्टरले?’
महानिर्देशक दवाडी गुनासो गर्दै भन्छन्, ‘एउटा सिस्टमलाई अर्को सिस्टमले अविश्वास गर्दागर्दै हामीले सबैलाई अविश्वास गर्याैं। नेपाल सरकारले बनाएको सिस्टमलाई कमसेकम मिडियाले चाहिँ विश्वास गरिदिनुस्। सिस्टमलाई अविश्वास गर्ने वातावरण नहोस्।’
पढेर सबै कुरा पुगेको व्यक्ति कसैलाई भनसुन नगरिकन इजरायल जान पाउने महानिर्देशक दवाडीको भनाइ छ। उनका अनुसार यदि कर्मचारी या तेस्रा व्यक्ति जो कोहिबाट सेटिङ्ग भएमा त्यस्ता व्यक्तिलाई कारवाहीको दायरामा ल्याइने छ।
हालसम्म (आइतबार बिहान १० बजेसम्म) इजरायल रोजगारीको आवेदन फारम भर्नेको संख्या ३८ सय पुगेको छ। वैदेशिक रोजगार विभाग, इजरायल शाखाका प्रमुख डम्बर सुनुवारले भने, ‘आइतबार १० बजेसम्म १९ हजारभन्दा बढीले युजर आइडी बनाइसकेका छन् र ३८ सयको रजिष्टार भईसकेको छ।’ |
कोरोनाका कारण विदेश जाने श्रमिकको संख्यामा ५५ प्रतिशतले कमी काठमाडौं। गत आर्थिक वर्ष (२०७७/७८)मा पनि वैदेशिक रोजगारीमा जाने कामदारको संख्या ५५ प्रतिशतले घटेको छ। वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनका अनुसार गत आव अर्थात् २०२० जुलाई १६ देखि २०२१ जुलाई १५ तारिखसम्ममा १ लाख ६६ हजार ६ सय ९८ जना नेपाली कामदार वैदेशिक रोजगारीमा गएका छन्।
श्रम स्वीकृतिको नवीकरण गरेर र नयाँ श्रम स्वीकृति लिएर गत आवमा १ लाख ५५ हजार २ सय ४२ पुरुष र ११ हजार ४ सय ५६ महिला गरी १ लाख ६६ हजार ६ सय ९८ जना नेपाली श्रमिक विदेशीएका हुन्।
अघिल्लो आव (२०७६/७७)मा पनि वैदेशिक रोजगारीमा जाने कामदारको संख्या २८ प्रतिशतले घटेको थियो। आव २०७६÷७७ मा भने ३ लाख ६८ हजार ४ सय ३३ जना नेपाली कामदार वैदेशिक रोजगारीमा गएका थिए।
आव २०७५/७६ मा पनि त्योभन्दा बढी अर्थात् ५ लाख ८ हजार ८ सय २८ जना नेपाली वैदेशिक रोजगारीमा गएको विभागको तथ्यांकले देखाएको छ।
त्यसैगरी, गत आवमा ६४ हजार ९ सय ३ पुरुष र ७१ सय ७८ महिला गरी ७२ हजार ८१ जना नयाँ कामदार (नयाँ श्रमस्वीकृत लिएका) विदेशिएका छन्। अघिल्लो आवमा भने १ लाख ९० हजार ४ सय ५३ जना नयाँ कामदार वैदेशिक रोजगारीमा गएका थिए।
त्यस्तै, विभागको प्रतिवेदनका अनुसार गत आवमा १ सय १६ देशमा नेपालीहरू गएका छन्। यूएई, जापान, रोमोनिया, मलेशिया, कतार, साउदी, बहराइन, दक्षिण कोरिया, साइप्रसलगायत मुलुकमा नेपाली कामदार गएका छन् भने सबैभन्दा बढी कामदार कतारमा गएका छन्।
गत आवमा कतारमा ५३ हजार ४ सय ७२ पुरुष र १४ सय ४३ महिला गरी कूल ५४ हजार ९ सय १५ जना कामदार विदेशिएका छन् । दोस्रो स्थानमा रहेको साउदी अरबमा भने ४६ हजार ७ सय ५२ पुरुष र २ सय ८ महिला गरी कूल ४६ हजार ९ सय ६० जना कामदार गएका छन्।
त्यसैगरी, यूएईमा ३५ हजार ४ सय १ पुरुष र ५ हजार ७६ महिला गरी कूल ४० हजार ४ सय ७७ जना नेपाली श्रमिक विदेशिएको विभागको तथ्यांकले देखाएको छ।
सामान्यतया नेपालबाट वार्षिक करिब ५ लाख कामदार वैदेशिक रोजगारीमा जाने गर्छन् । तर, पछिल्लो समय कोरोनाका कारण दुई आवमा वैदेशिक रोजगारीमा जाने कामदारको संख्या ह्वात्तै घटेको छ। |
कोरियामा बस्ने विदेशीलाई दक्षिण कोरिया सरकारले जारी गर्याे नयाँ सूचना (सूचनासहित) कोरिया। दक्षिण कोरियाको सरकारले बुधबाार यहाँ लामो समयका लागि बसोबास गरिरहेका सबै विदेशी नागरिकहरुलाई कोरोना खोप लगाउन आग्रह गरेको छ। सरकारले सबै विदेशीहरुलाई यथासक्य छिटो खोप लगाउन भनेको छ। “सबै विदेशी नागरिकलाई खोपका सम्बन्धमा कोरियन नागरिक सरह व्यवहार गरिनेछ” सरकारले भनेको छ।
अहिले दक्षिण कोरियामा विशेष गरी विदेशी कामदारहरुमा कोरोना संक्रमण धेरै देखिन थालेपछि कोरियाको न्याय मन्त्रालय अन्तरगतको कोरिया अध्यागमन विभाग तथा स्थानीय सरकारहरुले विदेशीहरुलाई यथासक्य छिटो खोप लगाईदिन आग्रह गरेका हुन्।
यी संस्थाले भनेका छन् “कोरियामा लामो अवधिका लागि वसोवास गरिरहेका सम्पूर्ण विदेशी नागरिकहरु कोरोना खोप लगाउन योग्य छन्। उनीहरुलाई भिसाको प्रकारका आधारमा कुनै पनि भेदभाव गरिने छैन।
सबै विदेशी नागरिकहरु खोपका मामिलामा कोरियन नागरिक सरह व्यवहार गरिनेछ। कोरियामा वैधानिकरुपमा वसोवास गरिरहेका विदेशीहरु जो राष्ट्रिय स्वास्थ्य बीमामा आवद्ध छन् उनीहरुले अनलाईनबाट खोप लिने मिति रिजर्भ गर्न सक्नेछन।”
कोरियामा बस्ने विदेशीहरुले अनलाइनबाटै कुन दिन कति बजे कुन खोप सेन्टरबाट खोप लिने भन्ने कुरा कोरियन नागरिकजस्तै (https://ncvr.kdca.go.kr/) वेवसाइटबाट गर्न सक्नेछन्।
त्यसैगरी कोरियामा अवैधानिकरुपमा वसोवास गरिरहेका जोसँग विदेशी परिचय पत्र छैन उनीहरुले समेत नजिकैको खोप केन्द्रमा गई निशुल्क खोप लगाउन पाउनेछन्। तर उनिहरुले खोप लगाउन जाँदा भने पासपोर्ट अनिवार्य लिएर जानुपर्नेछ।
दक्षिण कोरियाले यस अघि नै अवैधानिक रुपमा बसोबास गरिरहेका विदेशीहरुलाई उनीहरुलाई असहज नहुने गरी मोबाईल नम्मर मात्र लिएर खोप दिइसकेको छ। सरकारले यस अघि नै भनिसकेको छ कि अवैधानिकरुपमा वसोवास गरिरहेका सम्पूर्ण विदेशीहरुलाई कोरोना परीक्षण र खोप लगाउने कुरामा उनीहरुलाई कुनै पनि किसिमको अप्ठ्यारो पारिने छैन।
अघिल्लो हप्तामात्र फाजुमा रहेको एक कम्पनीमा ११ जना विदेशी नागरिकमा कोरोना देखिएको थियो। त्यसैगरी दोङहेमा पनि २१ जनाभन्दा बढी विदेशीमा कोरोना भेटिएको थियो।
कोरियाको दक्षिण पूर्वी शहर फोहाङमा विदेशीहरुमा सामूहिक संक्रमण भेटिएको थियो। ख्यङ्गिदो प्रदेशको आनसान र सिहुङ तथा खाङवनदो प्रदेशको खाङनुम अनि छल्लानाम्दोको मोक्फो शहरमा समेत धेरै विदेशीमा संक्रमण देखिइसकेको छ। |
अमेरिकाबाट नेपाललाई बौद्धिक सहयोग दिन एनएनए तयार वासिंगटन डिसी । अशोसिएसन अफ नेप्लिज इन द अमेरिकाज् (ए.एन.ए) ले नेपाल सरकारले बौद्धिक सहयोग चाहेमा अमेरिकाबासी नेपाली बौद्धिक जनशक्ति का तर्फबाट सहयोग गर्न तयार रहेको बताएको छ ।
नेपालका नव नियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई सम्बोधन गर्दै एएनएका तर्फबाट लेखिएको बधाइ सन्देशमा सो कुरा उल्लेख गरिएको छ । एएनएका अध्यक्ष विजयराज भट्टराईले प्रषित गरेको विज्ञप्तिमा नेपाल सरकारलाई त्यस्तो सहयोग आवश्यकता परे एनएनएले नेतृत्व लिएर सहयोग जुटाउन तयार भएको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा नेपाल कोभिडको विषम परिस्थितिमा परेको बेला विदेशामा रहेका नेपालीहरुले नेपालमा रहेका आफ्ना परिवार तथा आफन्तहरुको निमित्त ८७१ विलियन नेपाली रुपैंया पठाएको जानकारी पनि दिइएको छ ।
यो रकम नेपाल सरकारको पूर्ण बजेटको आधा रकम रहेको उल्लेख गर्दै यसरी मातृभूमिको निमित्त चिन्तित तर परिस्थितिबस बिदेशिएका प्रवासी नेपालीहरुको समस्यामा भने सरकारले चासो नदेखाएको प्रति ध्यानाकर्षण गराएको छ ।
सन २०१५ मै संबिधानमा उल्लेख गरिएको गैर आवासीय नेपाली नागरिकताको कानून निर्माणमा सरकारको उदासिनतालाई ए.एन.एले. स्मरण गराएको छ । देशमा बढ्दै गएको जातीय राजनीति र दलितहरुप्रति असुरक्षा बढ्दै गएको बिभिन्न घट्नाले देखाएको उल्लेख गर्दै एनएनएले सो कुरामा ध्यान दिन प्रधानमन्त्रीलाई अनुरोधसमेत गरेको छ ।
ए.एन.ए. ले बिशेष गरेर आफ्नो पहिचान बौद्धिक तथा प्रोफेशनल क्षेत्रमा निकै दह्रो रुपमा स्थापित गरेको छ । उत्तरी अमेरिकाको जेठो राष्ट्रिय संस्था हुनुको नाताले यस संस्थाले डायस्पोरामा आफ्नो छवि र स्थान छुट्टै बनाएको छ ।
ANA Press Release_Congratulations to PM of Nepal Mr. Deuba |
खोप प्रमाणीकरणमा समस्या, अब आयुर्वेद केन्द्रबाट दिइने काठमाडौं । सुरुदेखि नै विदेश जाने नेपाली श्रमिकहरूले कोरोनाविरुद्धको खोप लगाएको प्रमाणपत्र लिन समस्या भोग्दै आएका छन् । सोही समस्यालाई मध्यनजर गर्दै पछिल्लो सयम विदेश जाने नेपालीहरूका लागि ‘क्युआर कोड’सहितको खोप लगाएको प्रमाणपत्र दिन राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रलाई जिम्मा दिइएको छ ।
वैदेशिक रोजगारी, अध्ययन तथा अन्य विभिन्न कामको लागि विदेश जानेहरूलाई कीर्तिपुरमा रहेको केन्द्रबाट ‘क्युआर कोड’सहितको खोप प्रमाण प्रदान गरिने भएको हो ।
यसअघि सरकारले तोकेका अस्पतालहरूमा विदेश जाने युवाहरू खोप प्रमाणीकरणका लागि घन्टौं लाइनमा बस्ने गर्थे । लाइमा बस्दासमेत प्रमाणीकरण गर्न नपाएर कयौं युवा विदेश जानबाट पछि धकल्लिएका थिए ।
साथै, प्रमाणीकरणभन्दा पहिले टिकट काट्दा समयमा खोप प्रमाणीकरण नभएर टिकट रद्द गर्नुपर्ने र श्रमिकलाई थप आर्थिक भार पर्ने गरेका घटना प्रशस्तै थिए । र, श्रमिकहरूले ‘क्युआर कोड’सहितको प्रमाण सहज रूपमा पाउनु पर्ने भन्दै काठमाडौंमा आन्दोलनसमेत गरेका थिए ।
पछिल्लो समय कुवेतलगायत वैदेशिक रोजगारका गन्तव्य मुलुहरूले ‘क्युआर कोड’सहितको खोप लगाएको प्रमाण माग्ने गरेकाले नेपाल सरकारले पनि पछिल्लो समय ‘क्युआर कोड’मार्फत नै खोप प्रमाणीकरण गर्न भनेको छ । |
इजरायल रोजगारीको लागि खुलाइएको फारम भर्न किन झुक्किँदैछन् युवा? काठमाडौं । महिला र पुरुष गरी १ हजार जना नेपाली युवालाई इजरालयको दीर्घकालीन स्याहार केन्द्रमा सहयोगी कामदारको रुपमा पठाउने गरी नेपाल सरकारले अनलाइन आवेदन फारम खुलाएको छ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकका लागि यहि साउन १२ गतेदेखि खोलिएको उक्त अनलाइन आवेदन फारम भर्ने समायावधि २१ दिनको रहेको छ ।
तर, आवेदन फारम भर्न धेरै युवाहरु विभिन्न निजी संस्थाहरुको साहारा लिइराखेको वैदेशिक रोजगार विभागका निर्देशक तथा सूचना अधिकारी महेन्द्रनाथ भट्टराईले बताए । उनका अनुसार सामाजिक सञ्जालमार्फत केही निजी क्षेत्रले विभागले आफूलाई यति कोटा दिएको छ भनि फारम भर्न आह्वान गरेकाले प्राय युवाहरु झुक्किने गरेका छन्।
उनले निजी क्षेत्रले युवाहरुलाई ठगी गर्ने नियतले सामाजिक सञ्जालमा प्रचारप्रसार गरेकाले युवाहरु नझुक्किउन भनेर विभागले पुनःसूचनासमेत जारी गरेको बताए ।
विभागका सूचना अधिकारी भट्टराईले डिसी नेपालसँग भने, ‘कुनै कुनै प्राइभेट संस्थाले पैसा उठाए रे त्यही भएर सूचना निकालेको हो । हामीले युवाहरु ठगिदैँ छन् भन्ने थाहा पाएकाले सूचना निकालेको हो ।’
नेपाल सरकार र इजरायली सरकारबीच भएको श्रम सम्झौता अनुसार खुलाइएको उक्त कोटाको जानकारी विभागको वेभसाइड (dofe.gov.np) तथा गत साउन १२ गतेको राष्ट्रिय दैनिक पत्रिका गोरखापत्रमा प्रकाशित गरिएको छ। इजरायल जान चाहने योग्यता पुगेका इच्छुक युवाहरुले विभागको वेबपोर्टल ferms.dofe.gov.np मा गएर आवेदन फारम भर्न सक्नेछन्।
विभागको सूचनामा भनिएको छ, ‘इजरायलमा केयर गिभर छनौट गरी पठाउन नेपाल सरकारसँग आफ्नो सम्झौता भएको छ भनि केहि सामाजिक सञ्जाल प्रयोग गरी आवेदन दिने व्यक्तिहरुलाई प्रलोभनमा पारी भ्रम फैलाई रकम समेत उठाउने कार्य भइरहेको भन्ने समाचारप्रति विभागको गम्भीर ध्यानाकर्षण भएको छ।’
त्यसैगरी सूचनामा, ‘इजरायलका स्याहार केन्द्रहरुमा पाठाइने कामदारको छनौट प्रक्रियामा कुनै पनि निजीक्षेत्र, म्यानपावर कम्पनी, कन्सल्टेन्सी, एजेन्सी एवं व्यक्तिको कुनै प्रकारको भूमिका र संलग्नता रहने छैन, केवल नेपाल सरकार र इजरायल सरकारबीचको सम्झौता अनुसार छनौट गरिनेछ । अंग्रेजी भाषाको परीक्षाबाट छनौट भएका मध्येलाई अन्तर्वातामा बोलाइने छ’, भनिएको छ ।
साथै, विभागले ‘नेपाल सरकार र इजरायली सरकारबीच भएको श्रम सम्झौता अनुसार इजरायलका केयर गिभर सेन्टरमा पठाइने नेपाली सहयोगी कामदार छनौटका लागि कुनै पनि व्यक्ति तथा निजी संस्थासँग सम्झौता नभएको तथा अनुमती प्रदान नगरिएकाले यस प्रकारको भ्रमपूर्ण समाचारमा विश्वास नगर्न र राहदानी लगायत कुनै पनि कागजात तथा रकम नबुझाउन अनुरोध गरिन्छ,’ भनेको छ।
इजरायल रोजगारीमा पठाउन निजी क्षेत्रको अवैधानिक क्रियाकलाप बारे जानकारी गराउन प्रमाणसहित युवालाई जानकारी गराउन विभागले आग्रहसमेत गरेको छ। |
रूसले ‘विश्वव्यापी विपत्ति’ निम्त्याएको युक्रेनी राष्ट्रपति जेलेन्स्कीको आरोप कीएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ओडेसा बन्दरगाहको पूर्वाधारमा भएको आक्रमणले मस्कोकोे ‘विश्वव्यापी विनाश’ सिर्जना गर्ने मनसाय देखाएको बताएका छन् ।
मस्कोले विश्व खाद्य बजारमा अभाव, मूल्य वृद्धि र आपूर्तिमा अवरोध सिर्जना गरेको आरोप उनले लगाए ।
“रूसका लागि हाम्रो स्वतन्त्रता र देशविरुद्धको लडाइँ मात्र होइन,” जेलेन्स्कीले बुधबार भिडियो सम्बोधनमा भने । “उसले विश्वव्यापी विपत्तिको विरूद्धमा लडिरहेको छ ।
उनीहरूलाई विश्व खाद्य बजार ध्वस्त होस् भन्ने चाहन्छन्, मूल्य सङ्कट चाहिएको छ, आपूर्तिमा अवरोध चाहिएको छ,” जेलेन्स्कीलाई उद्धृत गर्दै अल जजिराले भनेको छ ।
युक्रेनी क्षेत्रीय सैन्य प्रशासनका प्रमुख ओलेह किपरलाई उद्धृत गर्दै सीएनएनले जनाएअनुसार बुधबार बिहानै कीएभमा ड्रोन आक्रमण भएपछि ओडेसा क्षेत्रको बन्दरगाह र औद्योगिक संरचनामा क्षति पुगेको थियो । रूस र युक्रेन दुवैले मङ्गलबार एकअर्कामाथि सीमापार आक्रमण गरेको आरोप लगाएपछि यो कदम चालिएको हो ।
यसैबीच युक्रेनले बुधबार बिहान कीएभमा १० वटा ड्रोन खसालेको केही समयपछि नै आक्रमण भएको सीएनएनले जनाएको छ । कीएभ नगर सैन्य प्रशासनका प्रमुख सेर्ही पोप्कोले बुधबार बिहान एक टेलिग्राम पोस्टमा किभमाथि १० वटा ड्रोन खसालेको पुष्टि गर्नुभएको छ ।
राष्ट्रपति जेलेन्स्कीले आइतबार रूसमा युद्ध ‘बिस्तारै फर्कँदै गएको’ चेतावनी दिँदै यो ‘अपरिहार्य, प्राकृतिक र पूर्णतया निष्पक्ष प्रक्रिया’ भएको बताएका थिए ।
युक्रेनका राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा जेलेन्स्कीले भने, “युद्धभूमिमा रूसी आक्रामकता दिवालिया भएको छ । रूसी नेतृत्वले एक वा दुई हप्तासम्म चल्ने अनुमान गरिएको तथाकथित ‘विशेष सैन्य अभियान’ को आज ५२२ औं दिन हो ।
यूक्रेन मजबूत बन्दै गइरहेको छ । “बिस्तारै, युद्ध रूसको प्रतीकात्मक केन्द्रहरू र सैन्य आधारहरूमा फर्किरहेको छ र यो एक अपरिहार्य, प्राकृतिक र बिल्कुल निष्पक्ष प्रक्रिया हो,” उनले भने । |
यस्तो देश जहाँ सेनाले २ सय पटक सत्ता कब्जाको प्रयास गरिसकेको छ ! काठमाडौं । करिब एक साताअघि नाइजरका राष्ट्रपति मोहम्मद बजुमलाई हिरासतमा लिएर सेनाले देश आफैं नियन्त्रणमा लिने घोषणा गरेको थियो। साथै अरु कुनै देश सहयोगको बहानामा नआओस् भनेर आफ्नो सिमाना पनि सिल गरेको थियो ।
यहाँ युरेनियम भण्डार भएका कारण युरोपेली संघले निरन्तर सहयोग प्रदान गरिरहेको छ। यही कारणले नाइजरको मामिला निकै चर्चामा छ ।
सेनाको कब्जा तब हुन्छ जब कुनै देशको सेना आफ्नो सर्वोच्च नेतामाथि पनि हावी हुन् । यस समयमा हुने उथलपुथललाई सैन्य परिवर्तन भनिन्छ। योसँगै कहिलेकाहीं सत्तापक्षभन्दा प्रतिपक्ष पनि बलियो हुन्छ । यस्तो अवस्थामा पनि विद्रोह हुन्छ । सैन्य कूमा सरकार र सेनाबीच लडाइँ हुन्छ, सरकारको पक्षमा उभिएका सर्वसाधारणले पनि दुःख पाउँछन् ।
विश्व बैंकका अनुसार मानव विकास सूचकांक (एचडीआई) निकै कम भएको ठाउँमा सामान्यतया सैनिक विद्रोह हुने गरेको छ । अर्थात् जनताले गरिबी, भोकमरी, महंगी, अराजकता जस्ता कुराको सामना गरिरहेका बेला सरकारप्रतिको विश्वास घट्न थाल्छ ।
जब सेनाले यो देख्छ, उसले आफ्नो शक्ति बढाउन थाल्छ। सेनाले विद्यमान सत्ताका धेरै व्यक्तिहरूलाई आफ्नो पक्षमा लिन्छन् र त्यसपछि विद्रोह गर्छ। यसपछि सरकार निरीह हुन्छ । केही प्रहरी वा अन्य सेनाको सहयोगमा विद्रोहलाई दबाउन खोजे पनि सैन्य शक्तिका अगाडि केही लाग्दैन ।
अर्को देशले सहयोग पठाउँदा मात्र यो प्रयास असफल हुन्छ। अमेरिकाले धेरै देशसँग यस्तो गरेको छ । उसले सरकारलाई सहयोग पठाएर सैन्य विद्रोहलाई कुल्चन मद्दत गर्दछ। यसले कू रोक्छ तर अमेरिका त्यो देशमाथि हावी हुन्छ। बदलामा उसले सरकारबाट धेरै ओाइदा लिने गरेको आरोप पनि अमेरिकामाथि लाग्ने गरेको छ ।
दक्षिण अमेरिकी देश बोलिभियाको नाम सबैभन्दा धेरै सैन्य विद्रोह झेल्ने देशको सूचीको शीर्षमा छ। सन् १८२५ को अगस्टमा स्पेनबाट स्वतन्त्र भएदेखि बोलिभियाले करिब १९० पटक कूको प्रयास झेलेको छ। यसको अन्तिम प्रयास २०१९ मा भएको थियो, जब तत्कालीन सरकारले पराजय स्वीकार गर्दै आफैंले राजीनामा दिएको थियो ।
स्वतन्त्रताको तेस्रो वर्षदेखि यहाँ अस्थिरता सुरु भयो । यससँगै सरकार र सेनाबीच द्वन्द्व सुरु भएको थियो । अन्य देशमा जहाँ गरिबी र बेरोजगारी नै कूको कारण हुन्थ्यो, यहाँ त्यसको कारण अर्कै कुरा थियो ।
यस देशमा कोका वा कोकोको उत्पादन धेरै थियो। संयुक्त राष्ट्रसंघका अनुसार यो देश कोलम्बिया र पेरुपछि सबैभन्दा धेरै कोका उत्पादन गर्ने देश हो । यो औषधि, अत्तर र खानामा पनि प्रयोग गरिन्छ।
कोकाको खेती पनि विद्रोहको कारण थियो। अन्य देशहरूले यहाँको जग्गा भाडामा लिन चाहेका थिए। त्यसका लागि उनीहरुले सत्तारुढ र सेनाबीच विभाजन ल्याउने र एक पक्षलाई सहयोग गर्ने नाटक गर्ने गरेका छन् ।
‘कु: अ स्टोरी अफ भॉयलेन्स एन्ड रेजिस्टेन्स इन बोलिभिया’ शीर्षकको पुस्तकमा यो देशले किन यति धेरै विद्रोह भोग्यो र त्यसमा विदेशी शक्तिको हात कसरी थियो भन्ने कुरा तहगत रूपमा बताइएको थियो।
बोलिभियामा विद्रोहको प्रयास यति सामान्य भयो कि चाँडै आम जनताले समान उत्साहका साथ यसमा भाग लिन थाले। सेना र आम जनता वा सरकार र आम जनताबीचको भिन्नता कम हुन थाल्यो ।
सन् १९५० देखि २०१९ सम्म यहाँ सरकार ढाल्ने करिब २३ पटक प्रयास भएको थियो । यस अवधिमा सम्पूर्ण विश्वमा करिब ४७५ वटा कु-प्रयास भएका थिए। प्रतिशतमा हेर्ने हो भने अफ्रिका महादेश यस सन्दर्भमा सबैभन्दा अस्थिर रहेको छ ।
एचडीआई कम भएका देशहरूमा सैन्य विद्रोहको डर बढी हुन्छ। बोलिभियामा पानीको विषयमा धेरै दंगा भएको थियो । २००० को दशकमा खानेपानीको निजीकरणमा जनता आफैं सडकमा आएर सत्ता हल्लाए । अहिले देशमा निर्वाचित सरकार छ । |
अन्तर्राष्ट्रिय रेसमा खेलाडी हदैसम्म ढिलो दौडिएपछि देशले लज्जित भएर माफी माग्यो काठमाडौं । अहिले वर्ल्ड युनिभर्सिटी गेम्स चीनमा आयोजना भएरहेको छ। यो खेलमा सोमालियाकी एक खेलाडीको नाममा यस्तो कीर्तिमान दर्ता भएको छ कि देशले माफी माग्नुपर्ने भएको छ । यसबाहेक खेल अधिकारीलाई बर्खास्त गर्न पनि नागरिकको माग छ ।
वास्तवमा, चीनमा २८ अगस्टदेखि ८ सेप्टेम्बरसम्म आयोजना भइरहेको वर्ल्ड युनिभर्सिटी गेम्समा सोमालियाले १०० मिटर धावक नसरा अबुबकर अलीलाई मैदानमा उतारेको थियो । यी स्प्रिन्टरले रेसमा विजेताले भन्दा लगभग दोब्बर समय लिइन् । त्यसबेलादेखि सोमालियामा खेलकुद अधिकारीहरूलाई बर्खास्त गर्न माग गरिएको थियो।
यसपछि सोमालियाका खेलकुद मन्त्री मोहम्मद बार्रे मोहम्मदले नासरा अबुबकर अलीलाई यस खेलमा देशको प्रतिनिधि चुनेकोमा देशसँग माफी मागेका छन् । रिपोर्टका अनुसार नसरा अबुबकर अलीसँग कुनै पनि उच्चस्तरीय खेलकुद प्रतियोगितामा भाग लिएको अनुभव थिएन।
Suspension of the Chairwoman of the Somali Athletics Federation, Ms. Khadijo Aden Dahir pic.twitter.com/UZsO0A4UiA
— Ministry of Youth and Sports of Somalia (@MoysFGS) August 2, 2023
वर्ल्ड युनिभर्सिटी गेम्सको भिडियोमा सोमालियाली खेलाडी नसरा अबुबकर दौड सुरु हुनेबित्तिकै सट (खेल) बाट बाहिरिएको देख्न सकिन्छ । र पछि हाँस्दै त्यो दौड पूरा गर्दछिन्। रिपोर्टका अनुसार अबुबकरले १०० मिटर दौड २१ दशमलव ८१ सेकेन्डमा पूरा गरेकी थिइन् । जुन विजेताले लिएको समय भन्दा १० सेकेन्ड बढी हो।
सोमालियाका खेलकुद मन्त्री मोहम्मद बार्रे मोहम्मदले यो घटनालाई लाजमर्दो भनेका छन् । उनले भने, “आज (चीनमा) जे भयो यसले सोमाली जनताको प्रतिनिधित्व गर्दैन। यसका लागि हामी सोमाली जनतासँग माफी चाहन्छौँ।”
रिपोर्टका अनुसार नसरा अबुबकर अलीसँग कथित रूपमा यस्ता प्रतियोगिताहरूमा भाग लिने कुनै पहिलेको अनुभव थिएन। उनलाई किन छानियो भनेर धेरैलाई आश्चर्य लागेको छ ।
सोमालियाको खेलकुद मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार सरकारले ‘द सोमाली एथलीट फेडरेशन’की अध्यक्ष खादिज अदेन दाहिरलाई निलम्बन गरेको छ । विज्ञप्तिमा यो पनि भनिएको छ कि नसरा अबुबकर अलीलाई खेलाडी वा धावकको रूपमा पहिचान गरिएको छैन।
#Somalia sorry for fielding record slow sprinter after Nasra Abubakar Ali took 22 seconds to complete the 100m sprint at the World University Games.
Sports Minister Barre Mohamud:“What happened was not representation of the Somali people, we apologise.”pic.twitter.com/tzqCfuta1p
— Oluwashina Okeleji (@oluwashina) August 2, 2023
सोमाली विश्वविद्यालयहरूको संघले एक प्रेस विज्ञप्ति जारी गर्दै वर्ल्ड युनिभर्सिटी गेम्समा देशको तर्फबाट कुनै पनि खेलाडीलाई छनोट नगरेको जनाएको छ। सोमाली एथलेटिक्स महासंघले अबुबकर अलीलाई कसरी र केका आधारमा छनोट गरियो भन्नेबारे अनुसन्धान गर्ने बताएको छ ।
अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा देशको प्रतिनिधित्व गर्न सोमालियाका खेलाडी छनोटमा विवाद भएको यो पहिलो पटक भने होइन । यसअघि २०१६ को रियो ओलम्पिकमा सोमालियाले पठाएको एथलीट मेरीन नुह म्युजलाई लिएर विवाद भएको थियो ।
मरीन नुह मेउजले ४०० मिटरको दुरी पूरा गर्न १ मिनेट १० सेकेन्डभन्दा बढी समय लगाइन् । जबकि औसत समय ४८ सेकेन्ड हो । तर, सोमाली धावकले दौडमा भाग लिएकोमा धेरैले प्रशंसा पनि गरेका छन् ।
सन् २०१२ मा लण्डन ओलम्पिकमा पनि सोमालियाका एथलीट मोहम्मद फराहले १ मिनेट २० सेकेन्डभन्दा बढी समय लिएका थिए । जुन विजेताको समय भन्दा करिब ३० सेकेन्ड बढी थियो। यसपछि सोमालियाका केही व्यक्तिबाट एथलीटलाई ज्यान मार्ने धम्की पनि आएको थियो । जसले महिलालाई खेलकुदमा भाग लिन हुँदैन भन्ने विश्वास बढेको थियो । |
सांसद पद गुमाएको मुद्दामा राहुल गान्धीले सर्वोच्च अदालतमा भने – ‘म माफी माग्दिन’ काठमाडौं । कांग्रेस नेता राहुल गान्धीले बुधवार सर्वोच्च अदालतमा मानहानि मुद्दाको सम्बन्धमा शपथ पत्र दायर गर्दै भनेका छन् कि उनी चुपचाप माफी माग्न तयार छैनन् ।
उनले सुरत अदालतले दिएको सजाय उचित नभएको भन्दै देशको सर्वोच्च अदालतमा भएको यो पुनरावेदन सफल हुनेमा आफूलाई पूर्ण आशा रहेको पनि बताए ।
राहुल गान्धीले सर्वोच्च अदालतमा आफूले माफी नमाग्ने बताएको यो पहिलो पटक हो। उनले यो सजाय रोकियोस् र आफूले सांसदको हैसियत पाउँ भन्ने चाहेको भए पनि यसका लागि आफू माफी माग्न तयार नभएको बताए ।
आफ्नो काउन्टर एफीडेबिटमा राहुल गान्धीले भाजपा विधायक पूर्णेश मोदीको आलोचना गरेका छन्।
उजुरीकर्ता पूर्णेश मोदीले अदालतमा पेश गरेको शपथ पत्रमा राहुल गान्धीलाई आफ्नो बयानका लागि माफी नमागेकोमा “अहंकारी” भनेका छन्।
यसबारे बिहीबार जवाफ दिँदै राहुल गान्धीको तर्फबाट पेश गरिएको शपथपत्रमा भनिएको छ, “बिना कुनै गल्ती कसैलाई मुद्दा लगाएर जनप्रतिनिधित्व ऐन अन्तर्गत सदस्यता खारेज गरी माफी माग्न बाध्य पार्नु न्यायिक प्रक्रियाको दुरूपयोग हो र यसलाई अदालतको तर्फबाट स्वीकार गर्नु हुँदैन।”
यस मुद्दामा वरिष्ठ अधिवक्ताहरू प्रशान्त सेन, राजिन्दर चीमा र अभिषेक मनु सिंघवीले राहुल गान्धीको तर्फबाट प्रतिनिधित्व गरिरहेका छन्।
यसबाहेक, कांग्रेस नेताले भने कि यो एक “असाधारण मुद्दा” भएकोले यो अदालतमा सफल हुनेमा उनी आशावादी छन् जहाँ मामूली कुराले ठूलो मूल्य चुकाउनु परेको छ र लामो समयदेखि निर्वाचित सांसदको रूपमा अयोग्य घोषित गरिएको छ।
सर्वोच्च अदालतमा आफ्नो सजाय रोक्नको लागि अपील गर्दै राहुल गान्धीले अदालतलाई भने कि पूर्णेश मोदीले उनको कथित आपराधिक इतिहास देखाउन उनीविरुद्ध धेरै विचाराधीन मुद्दाहरू उल्लेख गरेको तर अरू कुनै पनि मुद्दामा उनलाई दोषी ठहर गरिएको छैन र धेरै जसो मुद्दाहरू प्रतिद्वन्द्वी राजनीतिक दलका नेताहरुद्वारा दायर गरिएको छ।
प्रतिज्ञापत्रमा भनिएको छ, ‘निवेदक सांसद र विपक्षी दलका नेता भएकाले सत्तामा रहेका व्यक्तिको आलोचनात्मक मूल्याङ्कन गर्नु आवश्यक थियो । मानहानि गर्ने उद्देश्य थियो कि थिएन भन्ने बुझ्नको लागि भाषण पूर्ण रूपमा पढ्न आवश्यक छ। यसबाहेक, यो स्पष्ट छ कि मानहानि एक नन-कग्निजेबल, कम्पाउन्डेबल र जमानत योग्य अपराध हो।”
गान्धीले भने कि सूरत अदालतले अधिकतम दुई वर्षको सजाय दिने निर्णय असाधारण छ र यसको रोकलाई विचार गर्नुपर्छ।
न्यायाधीश बीआर गवईको नेतृत्वमा रहेको बेन्चले अगस्ट ४ मा राहुल गान्धीको अपीलको सुनुवाइ गर्ने अपेक्षा गरिएको छ।
जुलाई २१ मा, सर्वोच्च अदालतले गुजरात उच्च अदालतको आदेशको बिरूद्ध गान्धीको अपीलमा नोटिस जारी गर्यो । गुजरात उच्च अदालतले आदेशमा उनलाई सुनाइएको दुई वर्षको सजायलाई रोक्न अस्वीकार गरेको थियो । |
एउटै एयरलाइन्सका दुई एयर होस्टेस, एउटी कुकी र अर्की मैतेइले मणिपुर हिंसाबारे के भने ? काठमाडौं । मणिपुरमा कुकी र मैतेई समुदायबीच विगत तीन महिनादेखि हिंसा जारी छ । यस हिंसामा १५० भन्दा बढीको मृत्यु भइसकेको छ ।
हालै मे महिनामा मणिपुरको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । यस भिडियोमा पुरुषको भीडले दुई महिलामाथि यौन दुर्व्यवहार गरेको देखिन्छ ।
यो भिडियो बाहिरिएपछि मणिपुरमा महिलाको अवस्थालाई लिएर चर्चा बढेको छ ।
कुकी र मैतेईबीच तनाब भएको मणिपुरबाट सयौं किलोमिटर टाढा यी दुवै समुदायका दुई युवतीहरू दिल्लीमा प्रेमका साथ काम गरिरहेका छन्।
बीबीसी संवाददाता नितिन श्रीवास्तवले दिल्ली एयरपोर्टमा एयरलाइन्स कम्पनीका दुई एयर होस्टेसलाई भेटे।
यी दुवै एयर होस्टेस मणिपुरका हुन् । एकजना कुकी समुदायकी हुन्, अर्की मैतेई समुदायकी हुन् ।
तस्बिरमा उभिएकी लोत्जेम कुकी समुदायका हुन् । तस्बिरमा बसेकी लैशराम मैतेई समुदायकी हुन् । दुवै क्रमशः कंगो इम्फालका हुन् ।
उनीहरु दुवैले बीबीसी संवाददातालाई भने, ‘कुकी र मैतेई सधैं मणिपुरमा प्रेममा सँगै बसेका छन् । हामी आशा गर्छौं कि मणिपुरमा जारी हिंसा चाँडै अन्त्य हुनेछ। |
भारतमा भएको हिंसाबारे अमेरिकामा प्रश्न उठ्यो, अमेरिकी विदेश मन्त्रालयले के भन्यो ? काठमाडौं । भारतमा हरियाणाको नुहमा हिंसा भड्किएपछि गुरुग्राममा पनि हिंसा भएको थियो । यी हिंसाका घटनामा हालसम्म ६ जनाको मृत्यु भइसकेको छ । हरियाणाका मुख्यमन्त्री मनोहर लाल खट्टरले दोषीमाथि कडा कारबाही गरिने बताएका छन्।
बुधवार बजरंग दलले यस हिंसाको विरोधमा दिल्लीका धेरै ठाउँमा विरोध प्रदर्शन गरेको थियो। यी प्रदर्शनको आवाज अहिले अमेरिकासम्म पुगेको छ ।
अमेरिकामा विदेश मन्त्रालयको पत्रकार सम्मेलनको क्रममा एक पत्रकारले प्रवक्ता म्याथ्यु मिलरलाई यसबारे प्रश्न गरेका थिए ।
पत्रकारले सोधे- नयाँ दिल्ली नजिकैको गुडगाउँमा भएको धार्मिक हिंसामा कुनै अमेरिकी प्रभावित भएको जानकारी छ र यस क्षेत्रमा हिन्दू-मुस्लिम द्वन्द्वबारे के भन्न चाहनुहुन्छ?
यसबारे विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले भने, ‘हिंसक घटनालाई ध्यानमा राख्दै म भन्न चाहन्छु कि हामी पक्षहरूलाई सधैं शान्त रहन र हिंसाबाट टाढा रहन आग्रह गर्छौं। जहाँसम्म अमेरिकी नागरिकहरू यस हिंसामा प्रभावित भएको प्रश्न छ मलाई यसको बारेमा कुनै जानकारी छैन। यसबारे दूतावासबाट सोधपुछ गर्छु ।’
|
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र उनकी पत्नी सोफीले सम्बन्धविच्छेदको घोषणा गरे काठमाडौं । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र उनकी श्रीमती सोफीले बुधबार सम्बन्धविच्छेदको घोषणा गरेका छन् । दुवैले १८ वर्षअघि सन् २००५ मा विवाह गरेका थिए ।
सोफी र जस्टिनले इन्स्टाग्राममा पोष्ट गर्दै आफ्नो सम्बन्धविच्छेदको जानकारी शेयर गरेका हुन् । जस्टिन ट्रुडोको इन्स्टाग्राम अकाउन्टमा सेयर गरिएको पोष्टमा लेखिएको छ, ‘म र सोफी तपाईलाई जानकारी गराउन चाहन्छौं कि धेरै अर्थपूर्ण र कठिन कुराकानी पछि हामीले अलग हुने निर्णय गरेका छौं। एकअर्काको माया र सम्मानको साथ, हामी सधैं परिवार जस्तै हुनेछौं। हामीले मिलेर बनाएका कुरालाई अगाडि बढाउने छौँ ।
यस पोष्टमा बच्चाहरूलाई उल्लेख गर्दै, हाम्रो गोपनीयताको सम्मान गर्न भनिएको छ। जस्टिन ट्रुडो र सोफीका तीन सन्तान छन् । क्यानडाका प्रधानमन्त्रीको कार्यालयका तर्फबाट दुवैले सम्बन्धविच्छेदको कागजमा हस्ताक्षर गरेको बताइएको छ । तर, दुवै सार्वजनिक कार्यक्रममा सँगै देखिनेछन् ।
पछिल्ला केही वर्षहरूमा, दुबै सार्वजनिक फोरमहरूमा विरलै देखिएका छन्। |
आफूमाथि अभियोग तय भएपछि डोनाल्ड ट्रम्पको बाइडेन प्रशासनमाथि जवाफी आक्रमण काठमाडौं । सन् २०२० को राष्ट्रपतीय निर्वाचनको नतिजा उल्ट्याएको मामिलामा पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध आपराधिक अभियोग दायर गरिएको छ ।
आफ्नो राष्ट्रपति पदको उम्मेदवारी प्रस्तुत गरेका ७७ वर्षीय ट्रम्पले जो बाइडेन सरकारलाई प्रहार गर्दै यो ‘विच हन्ट’ भएको बताएका छन्।
ट्रम्पलाई गोप्य कागजातहरू गलत ह्यान्डल गर्ने र आफ्नो बारेमा जानकारी लुकाउन पोर्न स्टारलाई पैसा तिरेको दुईवटा मुद्दामा यसअघि नै अभियोग लगाइएको थियो।
चुनावी मामिलासँग सम्बन्धित अनुसन्धानले हार र वासिङ्टनको दंगाबीच दुई महिनाभित्र ट्रम्पको गतिविधि के थियो भन्नेमा केन्द्रित हुनेछ।
जनवरी २०२१ मा, जो बाइडेनको विजय पछि ट्रम्प समर्थकहरूले क्यापिटल हिलमा आक्रमण गरे। अनुसन्धानको नेतृत्व अमेरिकी न्याय विभागले नियुक्त गरेको विशेष काउन्सिल ज्याक स्मिथले गरिरहेका छन्।
उनले मंगलबार भने, “हाम्रो देशको संसदमा जनवरी ६, २०२१ मा भएको आक्रमण अमेरिकी लोकतन्त्रमाथिको आक्रमण थियो।”
ट्रम्पलाई धोखाधडी र आधिकारिक कार्यवाहीमा अवरोध गर्ने, सरकारी कार्यमा अवरोध र षड्यन्त्र गर्ने र झुटो बयान गर्ने षड्यन्त्र गरेको आरोप लगाइएको छ।
आरोपहरू घोषणा भएको लगत्तै, ट्रम्पको टोलीले यसलाई भ्रष्ट र राजनीतिक रूपमा प्रेरित कार्य भनेको छ। साथै नाजी जर्मनीमा भएको अत्याचारसंग तुलना गरेको छ।
ट्रम्पले ट्रुथ सोसल प्लेटफर्ममा लेखेका छन्, ‘मैले यति धेरै समर्थन यसअघि कहिल्यै पाएको थिइन ।’
उनी बिहीबार वाशिंगटनको अदालतमा हाजिर हुने कार्यक्रम छ, तर उनी व्यक्तिगत रूपमा हाजिर हुने वा टेलिकन्फरेन्सिङमार्फत सुनुवाइ हुने भन्ने स्पष्ट छैन।
चुनाव ट्र्याक गर्ने विज्ञहरूका अनुसार ट्रम्प रिपब्लिकन उम्मेदवारमा अगाडि छन् र आम चुनावमा उनको राष्ट्रपति जो बाइडेनसँग घनिष्ट लडाइ छ।
यदि उनी सबै आरोपमा दोषी ठहरिए भने ट्रम्पलाई धेरै वर्षको सजाय हुनसक्छ तर राष्ट्रपति बन्न भने बाधा हुने छैन ।
जनवरी ६ को घटनाबारे अमेरिकामा जनमत अझै मिश्रित छ।
अप्रिलमा, एपी-एनओआरसी द्वारा एक सर्वेक्षण गरिएको थियो जसमा ४९ प्रतिशत मानिसहरूले पूर्व राष्ट्रपतिले जनवरी ६ को हिंसामा गैरकानूनी रूपमा काम गरेको बताएका थिए।
१९ % ले उनले गरेको काम कानुनी तर अनैतिक थियो भनी विश्वास गरे भने २० % ले उनले केही गलत नगरेको विश्वास गरे।
याहू र युगोभले गरेको सर्वेक्षणमा ६२ प्रतिशत मानिसले सजाय पाए ट्रम्पलाई राष्ट्रपति बन्न दिनुहुँदैन भन्ने धारणा राखेका थिए । |
मणिपुर हिंसामा १४ हजार स्कुले बालबालिका घर छोड्न बाध्य काठमाडौं । मणिपुरमा झण्डै तीन महिनादेखि जारी हिंसामा १४ हजार भन्दा बढी विद्यालयका बालबालिका आफ्नो घरबाट विस्थापित भएका छन्, जसले उनीहरूको पढाइ प्रभावित भएको छ।
बुधबार राज्यसभामा एक प्रश्नको लिखित जवाफमा शिक्षा राज्यमन्त्री अन्नपूर्णा देवीले यी विस्थापित बालबालिकामध्ये ९३ प्रतिशतलाई नजिकको विद्यालयमा भर्ना गरिएको बताइन् । उनले भनिन् ‘मणिपुरको वर्तमान अवस्थाका कारण कुल १४,७६३ स्कूले बालबालिकाहरू विस्थापित भएका छन्।’
प्रत्येक राहत शिविरमा भर्ना प्रक्रियामा सहयोग गर्न नोडल अफिसर खटाइएको उनले बताइन् । मे ३ बाट सुरु भएको यस हिंसामा १ सय ६० भन्दा बढीले ज्यान गुमाएका छन् भने सयौँ घाइते भएका छन् । ६० हजारभन्दा बढी मानिस आफ्नै राज्यमा शरणार्थी बनेका छन् ।
यसै सन्दर्भमा यसपटक संसदको मनसुन अधिवेशनको कारवाही अझै सुचारु हुन सकेको छैन । बुधबार पनि संसद अवरुद्ध भएपछि बैठक स्थगित भएको थियो । |
अक्षय कुमारको फिल्म ओह माइ गड-२ को ट्रेलर रिलिज काठमाडौं । अक्षय कुमारको फिल्म ओएमजी २ लाई लिएर फ्यानहरु उत्साहित छन् । सन् २०१२ मा आएको फिल्म ओएमजीले दर्शकको राम्रो प्रतिक्रिया पाएको थियो । यस्तो अवस्थामा जब निर्माताले यो नयाँ फिल्मको घोषणा गरे, अभिनेताका फ्यानहरू खुसी भए।
ओएमजी २ को टिजर गत महिना मात्रै रिलिज भएको थियो । यसमा अक्षय कुमारको भगवान शिवको अवतारलाई फ्यानले मन पराएका छन् । तर यो टिजर पनि विवादमा रह्यो । अब लामो प्रतिक्षापछि फिल्मको ट्रेलर पनि सार्वजनिक भएको छ ।
अक्षय कुमार र पंकज त्रिपाठीको फिल्म ओएमजी २ सामाजिक कमेडी ड्रामा हो। यो एक आम मानिस कान्तिशरण मुद्गलको जीवन वरपर घुम्छ। भगवान शिवमा पूर्ण आस्था राख्ने कान्तिको पात्रमा पंकज त्रिपाठी देखिएका छन् ।
उनका छोराको दुर्घटना हुन्छ जसका कारण कान्तिले देशको शिक्षा प्रणालीलाई अदालतसम्म पुर्याउँछन् । आफ्नो छोराको प्रतिष्ठाको लागि उनी देशको शिक्षा प्रणालीसँग लड्छन् र अक्षय कुमार शिवको दूतको रूपमा यस लडाईमा उनीसँग सामेल हुन्छन् ।
ट्रेलरमा पंकज त्रिपाठी आफ्नो छोरालाई न्याय दिलाउन खोजिरहेका देखिन्छन् । अदालतमा उनको यामी गौतमसँग न्यायिक लडाइ भएको छ । यसैबीच अक्षय कुमारले उनलाई हरेक पाइलामा साथ दिइरहेका छन् । हाम्रो समाजका कतिपय समस्याहरु फिल्मबाट बाहिर आउनेछन् ।
यससँगै हाम्रा बालबालिकाको भविष्य बनाउने देशको शिक्षा प्रणालीमा पनि प्रश्न उठ्नेछ । फिल्मको प्रिक्वेल ओएमजीजस्तै यस पटक पनि जनतालाई ठूलो सन्देश दिने र शिक्षा प्रणालीमा परिवर्तन ल्याउने प्रयास फिल्ममार्फत गरिएको छ ।
ओएमजी २ मा अक्षय कुमार र पंकज त्रिपाठीका अलावा यामी गौतम, अरुण गोविल, पवन मल्होत्रा, गोविन्द नामदेव पनि देखिनेछन् । फिल्मलाई अमित राईले निर्देशन गरेका हुन् । यो केप अफ गुड फिल्म्स, अश्विन वर्दे, विपुल शाह र राजेश बहलको प्रोडक्सन ब्यानरमा बनेको हो। फिल्म अगस्ट ११ मा थिएटरहरूमा रिलीज हुनेछ। यसको टक्कर सन्नी देओलको फिल्म ‘गदर २’ सँग हुने भएको छ । |
तालिवानले तोडेको बुद्धको मूर्ति हेर्न अफगानिस्तानमा पर्यटकको घुइँचो अफगानिस्तान। रमणीय बाम्यान प्रान्तले अफगानिस्तानको पर्यटक हबको रूपमा आफ्नो हैसियत कायम राख्न प्रयास गरिरहेको छ, लाखौं पर्यटकहरू यस प्रान्तको बन्द ए अमिर भ्रमण गर्न आउँछन्, यो समुद्र सतहबाट करिब ३ हजार मिटर उचाइमा रहेको छ, जहाँ ६ वटा प्राकृतिक तालहरूको श्रृंखलासमेत रहेका छन् ।
आफ्नो बौद्ध संस्कृति र आकर्षक परिदृश्यको लागि प्रसिद्ध, मध्य प्रान्त बाम्यान दशकौंको युद्ध र गृहयुद्धमा नराम्ररी क्षतिग्रस्त भएको थियो।
यद्यपि, प्रचुर मात्रामा ऐतिहासिक स्मारकहरू रहेको उच्च भूमि युद्धग्रस्त राष्ट्रमा थप शान्ति पुनर्स्थापनासँगै फेरि पर्यटकको केन्द्रबिन्दु बनेको छ। सो क्षेत्रमा तालिवानले एेतिहासिक बुद्दको मुर्ती तोडेको थियो ।
‘म मजार ए शरीफ शहरबाट आएको हुँ। त्यहाँको मौसम तातो र उष्णकटिबंधीय थियो, तापक्रम ४६ डिग्री सेल्सियस भएकोले यहाँ आएँ,’ अफगान पर्यटक हबिबुल्लाह मिर्जादले सिन्ह्वालाई भने।
साथीहरूसँग ब्यान्ड ए अमिर तालहरू घुम्न गएका मिर्जादले खुसीसाथ भने, ‘हाम्रो गन्तव्यहरूमध्ये एउटा बामियानको सुन्दर परिदृश्य हेर्नको लागि ब्यान्ड ए अमिर थियो।’
अफगान पर्यटकले पनि आफ्नो युद्धग्रस्त देशमा शान्ति फर्किएकोमा खुसी व्यक्त गर्दै भने, ‘सुरक्षा अवस्था राम्रो छ, हामीले कुनै सुरक्षा समस्या भोग्नुपरेको छैन।
बामियानको रमाइलो गर्मी मौसमले पनि पर्यटकहरूलाई यसको पहाडी र रमणीय परिदृश्यको आनन्द लिन प्रोत्साहित गर्दछ।
‘म तातो मौसमबाट बच्न सारी पुल प्रान्तबाट आएको हुँ। सारी पुल धेरै तातो छ र आजकल त्यहाँको तापक्रम ३९ देखि ४० डिग्री सेल्सियस छ,’ अर्का आन्तरिक पर्यटक अब्दुल बसिरले भने।
‘हाम्रो बाम्यान भ्रमणको उद्देश्य प्रकृतिको सौन्दर्य, विशेष गरी ब्यान्ड ए अमिर तालहरूको आनन्द लिनु हो,’ बसिरले भने।
अधिकारीका अनुसार पछिल्लो दुई वर्षयता बामियान घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या निरन्तर बढेको छ ।
‘१ हजार २०० विदेशी पर्यटकले बाम्यान भ्रमणका लागि आफनो नाम दर्ता गरेका छन् र तीमध्ये करिब ७०० ले बुद्धको मूर्ति ९अवशेष० हेर्न टिकट लिएका छन्’ बामियानको पर्यटन विभागका प्रान्तीय प्रमुख मोहम्मद दीन मोफ्लेहले भने।
मोफ्लेहले जुन २९ बाट सुरु भएको इद अल अधाको बिदामा करिब ७० हजार पर्यटकले बामियान भ्रमण गरेको जानकारी दिए । |
रुसमा अपहरण गरी १४ वर्षसम्म यौन दासी बनाएकाे खुलासा मस्को। एक व्यक्तिले एक महिलालाई अपहरण गरी १४ वर्षसम्म आफ्नो घरमा यौन दासी बनाएर राखेको हालेको खुल्न आएको छ।
यस क्रममा उक्त व्यक्तिले महिलालाई कोठरीमा कम्तीमा एक हजार पटक बलात्कार गरेको आरोप छ। उनले पीडितलाई शारीरिक र मानसिक यातना पनि दिए । यो घटना श्चिमी रुसको चेल्याबिन्स्कको हो । मानसिक रोगी रहेको ती व्यक्ति अहिले अस्पतालमा भर्ना गरिएको छ।
‘आउटलेट’को रिपोर्टमा पुरुषको कोठरीबाट भागेकी महिलाले १४ वर्षको यातनाको कथा सुनाएकी छन् । महिलाले यो घटना सन् २००९ मा रुसमा एक पागलले अपहरण गरेपछि सुरु भएको दाबी गरिन्। अहिले महिला ३३ वर्षकी भइन्। अपहरणकर्ता भ्लादिमिर चेस्कीडोभलाई अर्की एक महिलाको हत्या गरेको पनि आरोप छ। उनीविरुद्ध हत्या, जबरजस्ती करणी र अपहरणका मुद्दा दर्ता छन्।
स्थानीय रिपोर्टका अनुसार ती महिलालाई भाग्न मद्दत गर्ने अभियुक्तकी आमा थिइन्। चेस्कीडोभले ओक्साना नामकी अर्की महिलालाई काल कोठरीमा मारेर टुक्रा टुक्रा गरेको महिलाले दाबी गरेकी छन्। अन्वेषकहरूले कालकोठरीमा मानव शरीरका भागहरू पनि फेला पारेका छन्। स्थानीय रिपोर्टका अनुसार आरोपी चेस्कीडोभकी आमा भ्यालेन्टिना सोही घरमा बस्थे। यी अपहरणका बारेमा उनलाई थाहा भएको बताइएको छ।
चक्कु प्रहार गरी घरको काम गर्न सुत्ने कोठाबाट बाहिर निस्कन नदिएको पीडित महिलाले प्रहरीलाई बताइन्। उनले आफ्नो प्रतिवेदनमा सानातिना कुरामा बारम्बार दुव्र्यवहार गरेको पनि दाबी गरेका छन्। झन्डै एक दशक लामो बसाईको क्रममा निर्मम रूपमा कुटपिट र शारीरिक यातनासमेत दिइएको थियो।
रसिया टुडेले अनुसन्धान अधिकारीहरूलाई उद्धृत गर्दै आफ्नो रिपोर्टमा चेस्कीडोभले १९ वर्षीया एकटेरिनासँग सन् २००९ मा भेट गरेको बताएको छ। रक्सी खान घरमा निम्तो दिए। त्यसपछि यो सबै त्यहाँबाट सुरु भयो। चेस्कीडोभले उनलाई चक्कुले धम्की दिएको आरोप छ। हात खुट्टा बाँधेर कोठामा थुनिदिए। ज्यान जोगाएर अभियुक्तले पीडितलाई घरको काम गर्न लगाउन थाले।
सो कालकोठरीमा बारम्बार यौन दुव्र्यवहार भएको पनि महिलाले बताइन्। महिलालाई राखिएको कोठामा ल्यापटप, अश्लिल फिल्म सहितको डिस्कका साथै यातना दिने क्रममा प्रयोग गरिने सेक्स खेलौना फेला परेको थियो। |
अमेरिकी संसदमा बन्दुकधारी प्रवेश गरेको सूचनाले हंगामा वासिंगटन डिसी। अमेरिकी संसद भवन परिसरमा बन्दुकधारी प्रवेश गरेको खबर आएपछि त्यहाँ हलचल मच्चिएको छ।
यसपछि अमेरिकी क्यापिटल प्रहरीले सिनेटको कार्यालयमा खोजी गरेको थियो। आदेश जारी गर्नुका साथै सुरक्षित स्थानमा बस्न मानिसहरूलाई भनिएको थियो। तर प्रहरीले खोजी गर्दा शंकास्पद वस्तु फेला परेन।
वाशिंगटन मेट्रो पोलिटन प्रहरी विभागका प्रवक्ता ह्युग केर्युले कम्प्लेक्सको खोजीपछि प्रहरीले युएस क्यापिटल कम्प्लेक्समा कुनै गोली हानेर र कुनै चोटपटक नपाएको बताए।
उनले शंकास्पद बन्दुकधारीका बारेमा फोन आएको बताए। यो गलत कल थियो जस्तो देखिन्छ। खोजी अभियानमा गोली चलाउने कोही भेटिएन।
यसअघि युएस क्यापिटल पुलिसले बुधबार ट्वीट गर्दै-यदि तपाईं सिनेट भवन भित्र हुनुहुन्छ भने सक्रिय शूटर अफिसमा प्रवेश गरेको डरले सबैजना सुरक्षित रहनुपर्छ।’ तर, गोली हानाहानको पुष्टि हुन नसकेको प्रहरीले जनाएको छ।
मिडिया रिपोर्टहरूले दाबी गरेका छन, सो हल्ला पछि अधिकारीहरुले सिनेट भवन खाली गरेको थिए। कार्यालयमा कार्यरत कर्मचारी र पत्रकारलाई इमेलमार्फत बन्द कोठामा बस्न निर्देशन दिइएको थियो। यस बाहेक उनीहरुलाई शान्त रहन र आफ्नो इलेक्ट्रोनिक उपकरण बन्द राख्न निर्देशन दिइएको छ। |
एक सय चालीस वर्षपछि बेइजिङमा भीषण वर्षा बेइजिङ । चीनको राजधानी बेइजिङलगायत आसपासका क्षेत्रमा हालै परेको मुसलधारे वर्षा एक सय ४० वर्षपछि भएको मौसम विज्ञान विभागका अधिकारीहरूले बताएका छन् ।
बेइजिङ मौसम विज्ञान विभागका अनुसार आँधीसहित चाङपिङको वाङ्जियायुआन जलाशय आसपासको क्षेत्रमा ७४४ दशमलब आठ मिलिमिटर वर्षा भएको छ । सन् १८९१ मा ६०९ मिलिमिटर पानी परेको थियो ।
राजधानी र आसपासका क्षेत्रमा शनिबारदेखिको मुसलधारे वर्षाबाट १३ करोड चिनियाँ प्रभावित भएका छन् । वर्षाको यो अभिलेख विगत ४० घण्टाको हो । राजधानी बेइजिङ र छिमेकी हेबेई प्रान्तमा नौ लाख ७४ हजार चार सय जना विस्थापित भएका छन् ।
वर्षामा कमी आएसँगै नदीमा जलस्तर पनि घट्दै गएको छ । अधिकारीहरूले जोखिमसूचक तहबाट पानीको सतह तल झरेको बताएका छन् । साथै उनीहरूले सर्वसाधारणलाई सचेत गराउने चेतावनीका सूचना पनि हटाएका छन् । |
नाइजरमा सत्ता कब्जापछि युरेनियमको आपूर्ति बन्द, पश्चिमी देशहरूमा खल्बली काठमाडौं । नाइजरमा भएको उथलपुथलको प्रतिध्वनि सारा विश्वमा, विशेषगरी शक्तिशाली देशहरूमा पुगेको छ । हुन त अफ्रिका पहिलेदेखि नै निरन्तर अस्थिर छ तर अहिलेको मामिला फरक छ।
हालै सेनाले राष्ट्रपति मोहम्मद बजुमलाई सत्ताबाट हटाएपछि सत्ता कब्जामा लिएको थियो। अहिले देशमा सैनिक शासन छ । यहाँ अमेरिका र युरोपेली युनियन दुवैले सेनाविरुद्ध राष्ट्रपतिलाई सहयोग गर्ने कुरा गरेका छन् । रूसले भने सरकारविरुद्ध सेनालाई साथ दिने भएको छ ।
सेनाले देशको सिमाना सिल गरेको र कसैलाई हस्तक्षेप नगर्न धम्की दिएपछि अहिले यी दुवै प्रस्ताव रोकिएका छन् । नाइजरका राष्ट्रपति मोहम्मद बजुम यो विद्रोहको एउटा कारण हुन्। गत निर्वाचनदेखि नै बजुमलाई स्वदेशी होइन, बाहिरी भएको आरोप लाग्दै आएको थियो ।
वास्तवमा, उनी अरब अल्पसंख्यक समूहका हुन् जसको मध्य पूर्वसँग सम्बन्ध छ। उनीहरू अफ्रिकामा बसोबास गरेको हुन सक्छ, तर स्थानीय मानिसहरूले उनलाई कहिल्यै स्वीकार गरेनन्।
देशबाट निकालिएका आतंकवादी समूहहरू अहिले यहाँ शरण लिइरहेका छन्। नाइजर सहित अधिकांश अफ्रिकी देशहरू प्रायः बाँकी संसारबाट काटिएका छन्, र यदि यहाँ केहि भयो भने, कसैले वास्ता गर्दैन।
यो अलकायदा र इस्लामिक स्टेट जस्ता आतंककारीहरुको आश्रयस्थल बनेको थियो । यहाँ बोको हरामको काम पनि चलिरहेको थियो । निर्वाचित सरकारले यसलाई नियन्त्रण गर्न सकेन । यो देखेर सेनाले आफ्नो हातमा कमाण्ड लियो ।
यद्यपि पश्चिम अफ्रिकासँग कुनै विशेष अर्थ छैन, तर नाइजरको मामला फरक छ। यहाँ युरेनियमको ठूलो भण्डार छ। विश्व आणविक संघका अनुसार यो देश युरेनियम उत्पादनको हिसाबले सातौं नम्बरमा छ ।
यहाँबाट अमेरिका, युरोपेली संघ र रुसमा युरेनियम आयात हुने क्रम जारी छ । सन् २०१९ मा अमेरिका, फ्रान्स, स्पेन, जापान र चीनमा करिब २.५ हजार टन युरेनियम निर्यात गरेको थियो ।
अहिले सेनाले देशका सीमा नाका बन्द गरेकाले त्यहाँबाट हुने निकासीमा प्रत्यक्ष असर पर्नेछ । यसको मतलब युरेनियम यी देशहरूमा पुग्न सक्नेछैन। यही एउटै कुराले जताततै त्रास फैलाएको छ ।
यो एक रेडियोधर्मी तत्व हो, जुन प्रायः आणविक शक्तिको तयारीमा प्रयोग हुने गरेको थियो। यहीँबाट विद्युत् प्राप्त हुन्छ । यसबाहेक युरेनियमको प्रयोग परमाणु हतियार बनाउन, चिकित्सा क्षेत्रमा र सेनामा अनुसन्धानमा पनि हुन्छ।
युरेनियमको आपूर्ति रोकिए पहिलो असर विद्युतमा पर्नेछ । विद्युत उत्पादन बन्द भएपछि काम ठप्प हुन्छ । काम जारी राख्न देशहरू जीवाश्म ईन्धनहरू जस्तै काठ, कोइलामा फर्कन थाल्छन्। यसले ग्लोबल वार्मिङ बढाउनेछ।
यसको सबैभन्दा ठूलो असर देशबीचको सम्बन्धमा पर्नेछ । कतिपय देशले युरेनियम आपूर्ति बन्द गरेर केहीलाई निरन्तरता दिए भने अरु देशले धेरै पैसा तिरेर वा दबाब सिर्जना गरेर युरेनियम लिन चाहन्छन् । यसले गर्दा भूराजनीतिक तनाव धेरै गुणा बढ्न सक्छ । |
कराची र लाहोरको विषयमा युरोपियन युनियनको चेतावनी, पाकिस्तान आक्रोशित काठमाडौं । पाकिस्तानको हवाई क्षेत्रमा उडान गर्नु विमानको सुरक्षाका लागि प्रमुख समस्या बन्दै गएको छ । आइतबार, युरोपियन युनियन एभिएसन सेफ्टी एजेन्सी (इएएसए) ले युरोपेली एयरलाइन्सहरूलाई धेरै पाकिस्तानी सहरहरूको हवाई क्षेत्रमा कम उचाइमा उडान गर्दा ‘उच्च जोखिम’ को चेतावनी दियो।
इएएसएले लाहोर र कराँची माथि उडान गर्दा एफएल २६० उचाइ ( २६ हजार फिट) भन्दा तल उडान नगर्न एयरलाइन्सहरूलाई चेतावनी दियो। यो चेतावनीलाई लिएर पाकिस्तान आक्रोशित भएको छ ।
आइतबार ढिलो पाकिस्तानको नागरिक उड्डयन प्राधिकरण (सीएए) ले यी दावीहरूलाई अस्वीकार गर्यो। सबै व्यावसायिक उडानका लागि देशको हवाई क्षेत्र पूर्ण रूपमा सुरक्षित रहेको प्राधिकरणले जनाएको छ ।
सीएएका प्रवक्ताले भने, ‘ईएएसएले पाकिस्तानलाई युरोपेली एयरलाइन्सलाई कुनै खतराबारे जानकारी दिएको छैन।’
इएएसएले युरोपेली एयरलाइन्सहरूलाई चेतावनी दिएको छ कि पाकिस्तानमा केही हिंसात्मक समूहहरूसँग विमानलाई क्षति पुर्याउन सक्ने हतियारहरू छन् जसले खतरा निम्त्याउन सक्छ।
युरोपियन युनियन एभिएसन सेफ्टी एजेन्सीले जारी गरेको एडभाइजरीमा ‘नागरिक उड्डयनमा निरन्तर सम्भावित खतरा कायमै रहेकाले २६० भन्दा कम उचाइमा विमान उड्ने उच्च जोखिम रहेको’ भनिएको थियो ।
इएएसएले युरोपेली एयरलाइन्सलाई कराँची र लाहोर माथि उडान गर्दा सावधानी अपनाउन भनेको छ। विमानहरू तोप र क्षेप्यास्त्रबाट प्रभावित हुने जोखिममा रहेको एडभाइजरीमा चेतावनी दिइएको थियो। यसबाट बच्न पाइलटहरूलाई २६ हजार फिटको उचाइमा उडान गर्न सल्लाह दिइएको छ ।
पाकिस्तानको एयरक्राफ्ट ओनर्स अपरेटर्स एसोसिएसन (एओओए) ले यो निर्देशनलाई कडा प्रतिक्रिया दिँदै यसलाई फिर्ता लिन माग गरेको छ। संघले इएएसएलाई पहिले आफ्नै घरपछाडि हेर्न सल्लाह दिएको छ।
एओओएका संस्थापक इमरान असलम खानले ईएएसएका निर्देशनहरूलाई ‘गैरजिम्मेवार’ भनेका छन् र पाकिस्तानी एयरपोर्टबाट हरेक दिन धेरै एयरलाइन्स उडान गर्ने गरेको बताएका छन्।
युरोपेली एजेन्सीलाई आलोचना गर्दै उनले भने, ‘इएएसएले पहिले युरोपेली वायुक्षेत्रको निगरानी गर्नुपर्छ। युक्रेन र रुस युद्धपछि युरोपेली हवाई क्षेत्र विमानका लागि सुरक्षित छैन र धेरै एयरलाइन्सले आफ्नो रुट परिवर्तन गरेका छन् ।
यद्यपि युरोपेली एजेन्सीले यस्तो सल्लाह जारी गरेको यो पहिलो पटक भने होइन। गत वर्ष नोभेम्बरमा पनि यस्तै सल्लाह जारी गरिएको थियो, जसमा सबै अपरेटरहरूले पाकिस्तानमा उडान गर्दा “अत्यन्त सावधानी” अपनाउन र २४ हजार फिट तल नउड्न सिफारिस गरेको थियो। |
अष्ट्रेलियाको समुन्द्रमा भेटिएको भग्नावशेष भारतको स्याटेलाइटको भएको पुष्टी, यो कति खतरनाक हुन्छ ? काठमाडौं । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले सोमबार पुष्टि गरेको छ कि जुलाई १७ मा अस्ट्रेलियाको पश्चिमी तटमा भेटिएको रहस्यमय वस्तु यसको रकेट पीएसएलभीको भग्नावशेष हो।
चन्द्रयान–३ को सफल प्रक्षेपण भएको तीन दिनपछि यो वस्तु आम मानिस र वैज्ञानिकहरुबीच चर्चाको विषय बनेको थियो । सुरुमा यो वस्तु चन्द्रयान–३ सँग सम्बन्धित हुनसक्ने बताइएको थियो । तर, इसरोले यसलाई ठाडै अस्वीकार गरेको छ ।
अस्ट्रेलिया स्पेस एजेन्सी (एएसए) ले सोमबार भनेअनुसार पश्चिमी अष्ट्रेलियाको किनारमा केही हप्ता पहिले भेटिएको ठूलो वस्तु भारतीय अन्तरिक्ष अनुसन्धान संगठनको रकेटको भग्नावशेष भएको पुष्टि भएको छ।
इसरोले पनि सहमति जनायो र यो भग्नावशेष उसको ध्रुवीय उपग्रह प्रक्षेपण वाहन (पीएसएलभी) रकेट मध्ये एक हुन सक्ने बताएको छ। पीएसएलभी इसरोको सबैभन्दा भरपर्दो रकेट हो। इसरोले पीएसएलभीको सहयोगमा ५८ प्रक्षेपण मिशनहरू सम्पन्न गरेको छ। तर, स्याटेलाइटको भग्नावशेष भेटिएको यो पहिलो पटक भने होइन ।
अङ्ग्रेजी अखबार इन्डियन एक्सप्रेसको रिपोर्टका अनुसार भारतीय अन्तरिक्ष एजेन्सीका एक अधिकारीले भनेका छन्, “अष्ट्रेलियामा भेटिएको वस्तु सम्भवतः पीएसएलभी रकेटको आधा जलेको भाग हो। दुई महिनाअघि यसको सहयोगमा एउटा नेभिगेसन स्याटेलाइट आइआरएनएसएस समूहको लागि प्रक्षेपण गरिएको थियो।” यो उपग्रह दक्षिण दिशामा प्रक्षेपण गरिएको थियो। यो सम्भव छ कि रकेटको एक भाग वायुमण्डलमा फर्कने क्रममा पूर्ण रूपमा जलेन र समुद्रमा खसेको थियो। जुन पछि अष्ट्रेलियाको तटमा बगेको थियो।
अन्तरिक्षबाट खसेको फोहोरले जीवन र सम्पत्तिको क्षतिलाई नकार्न सकिँदैन। समुद्रमा यसको खस्नु पनि समुद्री जीवनका लागि खतरनाक र प्रदूषणको स्रोत हुन सक्छ। किनकि, पृथ्वीको सतहको करिब ७० प्रतिशत समुन्द्र छ। यस्तो अवस्थामा अन्तरिक्षको फोहोर समुन्द्रमा खस्ने सम्भावना धेरै हुन्छ । तर, हालसम्म जमिनमा फोहोर खसेर जनधनको क्षति भएको कुनै घटना दर्ता भएको छैन । जहिले पनि यस्तो फोहोर धर्तीमा खसेको छ, त्यो निर्जन क्षेत्रमा परेको छ।
मे २०२१ मा पनि २५ टनको चिनियाँ रकेटको ठूलो हिस्सा हिन्द महासागरमा खसेको थियो। यस्ता घटनाहरूमा स्काइल्याब स्पेस स्टेशनको घटना सबैभन्दा बढी चर्चामा छ । यो घटना १९७० मा भएको थियो। हाल यो अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनको पूर्ववर्ती स्टेशन हो।
अन्तरिक्ष भग्नावशेष नियन्त्रण गर्न अन्तर्राष्ट्रिय नियमहरू छन्। यस नियममा पृथ्वीमा खसेको भग्नावशेषलाई पनि उल्लेख गरिएको छ । अन्तरिक्षमा उपग्रह प्रक्षेपण गर्ने लगभग सबै देशहरू यस सन्धिका हस्ताक्षरकर्ता हुन्। अन्तरिक्ष अवशेषबाट हुने क्षतिको लागि अन्तर्राष्ट्रिय दायित्व हुन्छ ।
यो सम्झौता बाह्य अन्तरिक्ष सन्धि को पूरक अन्तर्राष्ट्रिय सम्झौताहरु मध्ये एक हो। यो सन्धि अन्तरिक्ष अवशेषबाट अन्य अन्तरिक्ष सम्पत्तिहरूमा हुने क्षतिसँग सम्बन्धित छ, तर पृथ्वीमा खसेका वस्तुहरूबाट हुने क्षतिमा पनि लागू हुन्छ।
यस सन्धि अन्तर्गत अन्तरिक्षमा प्रक्षेपण गर्ने कुनै पनि देशले आफ्नो भग्नावशेषबाट कुनै क्षति भएमा क्षतिपूर्तिको लागि पूर्ण रूपमा जिम्मेवार हुनेछ। अर्थात् जुन देशमा अन्तरिक्ष भग्नावशेष खसेको छ, त्यो देशले उक्त वस्तु खस्दा भएको नोक्सानीका लागि मूल देशसँग क्षतिपूर्ति माग गर्न सक्छ। अन्तर्राष्ट्रिय कानून, न्याय र समानताका सिद्धान्तका आधारमा क्षतिपूर्तिको रकम निर्धारण गरिन्छ।
यदि हामीले यसलाई वर्तमान मामिलासँग जोड्ने हो भने, यदि पीएसएलभीको भग्नावशेषका कारण अष्ट्रेलियालाई कुनै नोक्सानी भएको भए भारतले क्षतिपूर्ति तिर्नुपर्ने थियो। |
युक्रेनले अन्न राखेको भण्डारमा रुसको ड्रोन आक्रमण काठमाडौं । रुसले युक्रेनको बन्दरगाह र औद्योगिक एकाइहरूमा ड्रोन आक्रमण गरेको अधिकारीहरूले बताएका छन्।
यो आक्रमण युक्रेनको ओडेसामा भएको हो । यस आक्रमणबाट खाद्यान्नको सुरक्षित भण्डारणका लागि राखिएको संरचनामा क्षति पुगेको छ ।
युक्रेनको वायुसेनाले यसअघि रुसी ड्रोन इज्मेलको महत्वपूर्ण बन्दरगाहतर्फ अघि बढिरहेको बताएको थियो।
अन्न सम्झौताबाट बाहिरिएपछि रुसले युक्रेनी बन्दरगाहमा आक्रमण जारी राखेको छ ।
यस विषयमा थप जानकारी आउन बाँकी रहेको अधिकारीहरुले बताएका छन् । |
चुनावी नतिजा उल्ट्याएको मामिलामा ट्रम्पमाथि आधिकारिक अभियोग तय, अदालतमा उपस्थित गराइने काठमाडौं । सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा आफ्नो पराजयको नतिजा उल्ट्याउन खोजेको सम्बन्धी मुद्दामा पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध आपराधिक आरोप दायर गरिएको छ।
ट्रम्प बिहीबार वासिङ्टन डिसीको अदालतमा उपस्थित हुने भएका छन् । ट्रम्पमाथि संयुक्त राज्य अमेरिका विरुद्ध षड्यन्त्र, साक्षी छेडछाड र नागरिक अधिकार विरुद्ध षड्यन्त्र सहित चार आरोपहरू छन्।
पुनः राष्ट्रपतिको उम्मेदवारी प्रस्तुत गरेका ७७ वर्षीय ट्रम्पले आफूले केही गलत नगरेको बताएका छन् । ट्रम्पले आफूमाथि लगाइएको आरोपलाई ‘बकवास’ भनेका छन् ।
ट्रम्पलाई गोप्य कागजातहरू गलत ह्यान्डल गर्ने र आफ्नो बारेमा जानकारी लुकाउन पोर्न स्टारलाई पैसा तिरेको दुईवटा मुद्दामा यसअघि नै अभियोग लगाइएको थियो।
चुनावी मामिलासँग सम्बन्धित अनुसन्धानले हार र वासिङ्टनको दंगाबीच दुई महिनाभित्र ट्रम्पको गतिविधि के थियो भन्नेमा केन्द्रित हुनेछ। जनवरी २०२१ मा, जो बाइडेनको विजयपछि ट्रम्पका समर्थकहरूले संसदमा आक्रमण गरे।
अनुसन्धानको नेतृत्व अमेरिकी न्याय विभागले नियुक्त गरेको विशेष काउन्सिल ज्याक स्मिथले गरिरहेका छन्। उनले मंगलबार भने, “हाम्रो देशको संसदमा जनवरी ६, २०२१ मा भएको आक्रमण अमेरिकी लोकतन्त्रमाथिको आक्रमण थियो।” |
नासाको गलत आदेशले भोयाजर–२ को पृथ्वीसँगको सम्पर्क टुट्यो, अब के छ आशा ? काठमाडौं । नासाको गलत आदेशका कारण भोयाजर आर -२ को पृथ्वीसँग सम्पर्क टुटेको छ । यो अन्तरिक्ष यान विगत ४६ वर्षदेखि अन्तरिक्ष अन्वेषणका लागि यात्रा गरिरहेको छ ।
गत महिना, नासाले अन्तरिक्ष यानलाई गलत कमाण्ड दियो, त्यसपछि यसको सम्पर्क टुट्यो र डाटा पठाउन बन्द गर्यो।
समाचार एजेन्सी पीटीआईका अनुसार नासाको डीप स्पेस नेटवर्कले अब ‘हार्टबिट सिग्नल’ प्राप्त गरेको छ, जसको अर्थ ४६ वर्ष पुरानो अन्तरिक्ष यान जीवित र काम गरिरहेको छ।
परियोजना प्रबन्धक सुसान डोडले मंगलबार एक ईमेलमा यो जानकारी दिए। डोडले भने कि यो जानकारीले उनको मनोबल बढाएको छ। वास्तवमा, यस अन्तरिक्ष यानका उडान नियन्त्रकहरूले गल्तीले यानको एन्टेनालाई पृथ्वीतर्फबाट अन्यत्र मोडेका थिए, जसका कारण सम्पर्क टुटेको थियो।
अब क्यालिफोर्नियाको जेट प्रोपल्सन प्रयोगशालाका उडान नियन्त्रकहरूले भ्वाएजर-२ को एन्टेनालाई पृथ्वीतर्फ फर्काउने प्रयास गर्नेछन् र यदि यो आदेशले काम गरेन भने उनीहरूले अक्टोबरसम्म पर्खनुपर्नेछ।
वास्तवमा, भ्वाएजर-२ अक्टोबरमा स्वतः रिसेट हुनेछ। भ्वाएजर-२ सन् १९७७ देखि अन्तरिक्षको गहिरो रहस्य पत्ता लगाउनको लागि यात्रामा छ। यो हाल पृथ्वीबाट १९.९ बिलियन किलोमिटरको दूरीमा छ।
२१ जुलाई देखि यसले न कुनै आदेश लिइरहेको छ न डाटा पठाउन सकेको छ । भ्वाएजर-२ एकमात्र अन्तरिक्षयान हो जुन नेप्च्युन र युरेनसबाट गुज्रिएको छ।
सन् १९७७ को अगस्ट र सेप्टेम्बर महिनामा अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले पृथ्वीबाट दुईवटा अन्तरिक्षयान पठाएको थियो । तिनीहरूको नाम भोयाजर एक र दुई थियो।
भ्वाएजर २ अमेरिकाको अन्तरिक्ष केन्द्र केप क्यानभेरलबाट २० अगस्टमा प्रक्षेपण गरिएको थियो। जहाँ भ्वाएजर १ सेप्टेम्बर ५ मा पठाइएको थियो। |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.